`

कांग्रेसले विशेष महाधिवेशनबाट गगनलाई सभापति र प्रधानमन्त्रीको उम्मेदवार बनाउनु पर्छ : मन्सुर

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले पार्टीले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै महामन्त्री गगनकुमार थापालाई सभापति र आगामी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर निर्वाचनमा जानुपर्ने बताएका छन् ।

आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै मन्सुरले नियमित महाधिवेशनका लागि समय र अवस्था अनुकूल नभएकाले विशेष महाधिवेशन नै व्यवहारिक विकल्प भएको दाबी गरे ।

उनका अनुसार कांग्रेसभित्र देखिएको जटिलता समाधान गर्न र जनताको विश्वास जित्न गगन थापाको नेतृत्व आवश्यक छ । ‘आम नेपाली जनताले गगनमाथि भरोसा गरेका छन् । देश र पार्टीभित्रका समस्या पार लगाउन उहाँ सक्षम हुनुहुन्छ’, मन्सुरले भने, ‘त्यसैले विशेष महाधिवेशन गरेर उहाँलाई सभापति र प्रधानमन्त्रीको उम्मेदवार बनाएर कांग्रेस चुनावमा जानुपर्छ ।’

उनले पार्टीभित्र परिवर्तनविरोधी शक्तिहरूले महाधिवेशन रोक्न खोजेको आरोप पनि लगाए । महाधिवेशनपछि आफ्नो प्रभाव घट्ने र चुनावमा टिकट बाँड्ने अधिकार गुम्ने डरले केही पदाधिकारीहरू प्रक्रिया अवरुद्ध गर्न लागेको उनको भनाइ छ । मन्सुरले कांग्रेस नयाँ नेतृत्व, नीति र स्पष्ट कार्यदिशासहित आसन्न निर्वाचनमा जानुपर्नेमा जोड दिँदै महाधिवेशन हुन नदिई पार्टी कब्जा गर्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारे । नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनमार्फतै नेतृत्व चयन गरी पार्टीलाई पुनर्जीवित गर्नुपर्ने उनको निष्कर्ष छ ।

 

समानुपातिक सूची बुझाएका दलको चुनाव चिह्न मात्रै मतपत्रमा

काठमाडौं । निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलको चुनाव चिह्न मात्रै मतपत्रमा रहने भएको छ । विगतमा दल दर्ताको आधारमा मतपत्रमा चुनाव चिह्न राख्ने अभ्यास रहेता पनि यस पटक त्यस्तो नगर्ने गरी व्यवस्थापन गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ ९३ वटा चुनाव चिह्नमा १०० दलले चुनाव लड्ने भनेर दल दर्ता गरेका थिए । समानुपातिकतर्फको बन्दसूची बुझाउँदा यो संख्या घटेको छ । ६४ दलले ५८ वटा चुनाव चिह्नमा निर्वाचन लड्ने गरी सूची निर्वाचन आयोगका पेश गरेका छन् । १० वटा दलले एकल चुनाव चिह्नमा चुनाव लड्ने गरी समानुपातिकतर्फको बन्दसूची बुझाएका हुन् । यसरी यस पटक समानुपातिक तर्फको मतपत्रमा ५८ वटा चुनाव चिह्न हुनेछ । राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूची सच्याउन एक साता समय पाउने भएका छन् । आयोगले आज पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘कलस्टर नमिलेको अवस्थामा आयोगले यही पुस २० गतेसम्म सम्बन्धित दलहरूलाई सूचित गरिसक्छ । त्यसपछि सम्बन्धित दलको तर्फबाट यही पुसको २१ गतेदेखि २७ गतेसम्म आयोगले बताएअनुसार संशोधन गरेर पेस गर्ने कार्यक्रम हुनेछ ।’ दलहरूले यही पुस १३ र १४ गते समानुपातिक सूची बुझाएका थिए । त्यसउपर आयोगले छानबिन गरिरहेको छ । यही पुस २० गतेसम्म आयोगले कानुन बमोजिमको कलस्टर अनुसार दलहरूको बन्दसूचीमा नाम रहे–नरहेको अध्ययन गर्नेछ । अध्ययन पश्चात २० गते नै दलहरूलाई के के मिलेको छैन भनेर पत्राचार गर्ने तालिका छ ।

आयोगले कलस्टर मिलाउनुपर्ने भएका सम्बन्धित दलहरूलाई पत्राचार गरेपछि सम्बन्धित दलहरूले यही पुस २७ गतेसम्म संशोधन गर्न समय पाउने छन् । उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारले पुस २८ गते समय पाउनेछन् । कसैले फिर्ता लिएमा आयोगले त्यसबारेको जानकारी सम्बन्धित दललाई पुस २९ गते दिइनेछ ।

उम्मेदवारले नाम फिर्ता लिएको कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनित उम्मेदवारको नामावली सम्बन्धित राजनीतिक दलले आयोगमा पेश गर्ने समय पुस ३० गतेका लागि तोकिएको छ । त्यसपछि प्राप्त उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ । आयोगको कार्यतालिका अनुसार आगामी माघ ४ गते उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन भएपछि उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोध गर्न निवेदन दिन सकिनेछ ।

यसका लागि माघ ५ गतेदेखि माघ १० गतेसम्मको समय तय गरिएको छ । माघ ११ गतेदेखि १७ गतेसम्म उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धी दावी विरोधको निवेदन उपर जाँचबुझ गरेर आयोगले निर्णय गर्नेछ । आयोगको तालिका अनुसार आगामी माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन हुनेछ । फागुन २१ गते मतदान हुनेछ ।

 

 

विश्वप्रकाशले पार्टी फुट्न नदिन सुल्झाए यस्ता तीन विकल्प

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी फुट्न नदिन र अहिलेको समस्या समाधान गर्नका लागि तीन वटा विकल्प अघि सारेका छन् । पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै शर्माले तीन विकाल्प अगाडि सारेका हुन् । शर्माका अनुसार विधान अनुसार अब विशेष महाधिवेशनको विकल्प नभएकाले यहि महाधिवेशनबाट नीति र नेतृत्व टुंगो लगाएर चुनावमा जाने पहिलो विकल्प हो ।

दोस्रो विकल्प भनेको विशेष महाधिवेशनले मूल नेतृत्व अर्थात सभापतिको मात्र निर्वाचन गरेर जाने उपाय हुन सक्छ । यदि नेतृत्व परिवर्तन अहिले गर्दा समस्या आउने भए नीति पारित गरेर विशेष महाधिवेशनको वैधानिक व्यवस्थापन गर्ने तेस्रो विकल्प उनले दिएका छन् । शर्माले भने, ‘कांग्रेसमा जारी समस्या समाधान गर्न कुनै ठूलो कुरा छैन । कांग्रेसले सबै समस्या मुस्कुराउँदै हल गर्छ । विधान अनुसार अगाडि बढौ, पार्टी फुट्दैन । पार्टी एकढिक्का रहन्छ । पार्टी फुटाउने कुरा हुन्न । नेतृत्व का लागि नभई नीतिका लागि पनि नेपाली कांग्रेस पार्टी यतिबेला विभाजन हुँदैन ।’

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक अहिले बस्दै छ । बैठकमा सहभागी हुन कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, पूर्व गृहमन्त्री रमेश लेखकसहितका शीर्ष नेताहरू सानेपा पुगेका छन् । बैठक ३ बजेका लागि बोलाइएको भए पनि एक घण्टा ढिलोगरी सुरु हुन लागेको हो । कांग्रेसमा नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने विषय अहिले पेचिलो बनेको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको बाटोमा अघि बढेको भन्दै वक्तव्य जारी गरेका थिए । यही विवाद समाधान गर्न पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यसम्पादन समिति बैठक बोलाएका हुन् । बैठकमा प्रवेश गर्दागर्दै खड्काले पार्टीको विवाद समाधान गर्ने गरी निर्णय आउने बताएका छन् ।

 

 

घट्यो आन्तरिक हवाई भाडा, कहाँ जाँदा कति ?

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा न्यूनतम हवाई भाडा घटाएको छ ।नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै न्यूनतम हवाई भाडा पनि घटेको हो । आयल निगमले यही पुस १६ गते हवाई इन्धनको साबिक मूल्यमा प्रतिलिटर ६ रुपैयाँ घटाएको थियो । यसअघि प्रतिलिटर १३४ रुपैयाँ रहेको इन्धनको मूल्य (फ्युल सर्चाज) १२८ रुपैयाँ कायम गरी शुक्रबारदेखि लागू हुने सोही आधारमा भाडा घटाइएको हो । नयाँ व्यवस्थाअनुसार फ्युल सरचार्ज प्रतिसिट प्रतिमिनेट शुल्क ६८।०९ रुपैयाँ राखेको छ ।

प्राधिकरणले राजधानी काठमाडौंबाट टाढा रहेको धनगढीको भाडामा २६५ र छोटो दूरीमा रहेको सिमराको भाडा ५५ रुपैयाँले घटाएको छ । यस्तै माउन्टेन फ्लाइटमा २१०, भद्रपुरमा १८०, विराटनगरमा १४०, जनकपुरमा ७५, भरतपुरमा ६५, पोखरामा ९५, नेपालगन्जमा १९५, भैरहवामा १२५, तुम्लिङटारमा ११०, सुर्खेतमा २१० र राजविराजमा १२५ रुपैयाँ न्युनतम भाडा घटाएको छ । यसमा विभिन्न प्रकारका करसहित वायुसेवा कम्पनीले लिने भाडासमेत जोडेपछि मात्र पूर्ण भाडादर कायम हुन्छ ।
हेर्नुस् कहाँको भाडादर कति ?

 

कार्य सम्पादन सम्झौताले कसैलाई नियन्त्रण गर्दैन : सचिव अर्याल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले चलचित्र विकास बोर्डसँगको मन्त्रालयको कार्यसम्पादन सम्झौताले बोर्डको स्वायत्ततामाथि नियन्त्रण नहुने बताएकी छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको शुक्रवारको बैठकमा चलचित्र विधेयकमाथिको दफावार छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् । उनले चलचित्र विकास बोर्डका अध्यक्षसँग गरिने कार्यसम्पादन सम्झौता नियन्त्रणको लागि नभई मन्त्रालय र बोर्डबीचको समन्वयका लागि आवश्यक रहेको बताइन् ।

सरकारले नियुक्ति गरेका पदाधिकारीले सरकारको नीति र कार्यक्रमअनुसार काम गरिरहेको छ कि छैन भन्ने मूल्याङ्कन गर्न कार्यसम्पादन सम्झौता आवश्यक रहेको उनको भनाई छ । तर सो सम्झौताका आधारमा बोर्ड अध्यक्षलाई नियन्त्रण गर्ने वा काम गर्न नदिने उद्देश्य नरहेको स्पष्ट पारिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने नीति स्थापित गरिसकेको उल्लेख गर्दै उनले चलचित्र विकास बोर्डसँगको सम्झौतालाई स्वाभाविक अभ्यासका रूपमा लिनुपर्ने बताइन् । हाल कार्यान्वयनमा रहेको कार्यसम्पादन सम्झौताले कुनै निकायको कार्यमा हस्तक्षेप नगरेको उनको दाबी छ ।
बोर्ड आफैले बनाएका बजेट तथा कार्यक्रमलाई तोकिएको समय र स्रोतसाधनभित्र सम्पन्न गर भन्ने मात्रै सम्झौताको मर्म रहेको उनको स्पष्टोक्ति छ । उनले कार्यसम्पादनका आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने निकायलाई सम्मान समेत गरिँदै आएको जानकारी दिइन् ।

उनले भनिन्, ‘नेपाल सरकारले नियुक्त गरेर पठाइसकेपछि उसले सरकारको नीति अन्तर्गत रहेर काम गर्छ, गर्दैन, एउटा चाहिँ मन्त्रालय र बोर्डलाई कसरी कनेक्टेड गर्ने भन्ने हिसाबले यो जरुरी छ । तर यही कार्य सम्झौताको आधारमा बोर्डको अध्यक्षलाई नियन्त्रण गर्ने, काम गर्न नदिने भन्ने हुँदैन । नेपाल सरकारले अहिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले एउटा कानुन बनाएर सबै विभागीय प्रमुखहरूबिच कार्यसम्पादन सम्झौता गर्नुपर्ने र सो बमोजिम कार्यसम्पादन गर्नुपर्ने भन्ने नीति स्थापित भइसकेको सन्दर्भमा यो विषय यहाँ राख्दा ठिकै हुन्छ ।’

उनले भनिन्, ‘अहिले हामीले गरिरहेको अभ्यासले पनि यो सम्झौताले हस्तक्षेप गरेको छैन । अध्यक्षले जे काम गर्ने भनेर बजेट कार्यक्रमहरू बनाएको हुन्छ, त्यसैलाई तोकिएको समयमा, तोकिएको स्रोतसाधनभित्र रहेर सम्पन्न गर भन्ने विषय हो यो । थप विषयहरू थोपरेर उसलाई अप्ठ्यारो पार्ने खालको विषय होइन । कार्यसम्पादन राम्रो नभए हटाउने भन्ने छलफल गरिरहेको सन्दर्भमा उसले कसरी काम गरेको छ भन्ने विषय यो कार्यसम्पादन सम्झौता कार्यान्वयनको मन्त्रालयमा त्रैमासिक रूपमा समीक्षा हुन्छ । वार्षिक रूपमा मूल्याङ्कन भएर हामीले सबै निकायको र्‍याकिङ गर्ने गरेका छौँ । उत्कृष्ट कार्यसम्पदान गर्ने निकायलाई हामीले सम्मान पनि गर्ने गरेका छौँ ।’ बैठकमा सहभागी सांसदहरूले चलचित्र विकास बोर्डका अध्यक्षसँग गरिने कार्यसम्पादन सम्झौताले बोर्डको स्वायत्ततामा हस्तक्षेप हुने हो की भन्ने चिन्ता व्यक्त गरेका थिए । उक्त चिन्ताप्रति सञ्चारसचिव अर्यालले आफ्नो धारणा राखेका हुन् । विधायन समितिमा चलचित्र विधेयकसम्बन्धी दफावार छलफल भइरहेको छ ।

चक्रे मिलन गोरखा–२ बाट एमालेको उम्मेदवार सिफारिस

काठमाडौं । गोरखा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेबाट मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवार सिफारिस भएका छन्। उम्मेदवार सिफारिसपछि उनले आफ्नो इच्छाभन्दा पनि जनसमुदाय र जेनजी पुस्ताको निरन्तर माग र दबाबका कारण भएको दावी गरेका छन् । विगतमा गुण्डा नाइकेको छवी पाएका उनी नेकपा एमालेमा वि.सं. २०५० सालदेखि सक्रिय बनेका हुन् । उनी सामाजिक कार्यमा पनि क्रियाशील छन् ।

गुरुङको उम्मेदवारीबारे प्रतिक्रिया दिँदै युवा संघका केन्द्रीय सदस्य प्रविण अधिकारीले भने, ‘जो कोही निस्वार्थ रूपमा राजनीति र समाजसेवाका लागि अघि बढ्छन्, त्यस्ता व्यक्तित्वलाई गोरखामा स्वागत गर्नुपर्छ ।’ गुरुङ पटक–पटक पक्राउ पर्दै हिरासत र जेल पुग्ने गरेका छन् । पछिल्लो पटक उनी गत साउनमा पक्राउ परेका थिए । त्यतिबेला उनीसहितका व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जको एक होटलबाट पक्राउ गरेको थियो । सर्वसाधारणलाई आतंकित पार्ने गतिविधि गरेको आरोपमा उनी समातिएका थिए । यो मुद्दामा उनी धरौटीमा छुटेका थिए । उनीविरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योगको अर्को मुद्दा थियो । काठमाडौंबाट छुटेपछि उनलाई भक्तपुर पठाइएको थियो । भक्तपुर अदालतबाट पनि उनी धरौटीमा रिहा भएका थिए ।

प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) को विवरण केलाउने हो भने उनीविरुद्ध अहिलेसम्म १२ पटक भन्दा बढी मुद्दा चलेको छ । कुनै समय (हाल दिवंगत) एमाले नेता प्रदीप नेपालका किचन क्याबिनेटका सदस्य भनेर चिनिने उनै मिलन गुरुङ अहिले चक्रे बनेर परिचित छन् ।
भुतपूर्व गोर्खा आर्मीका छोरा चक्रेको घर गोरखा सिरानचोक गाउँपालिका–५ छोप्राक हो । उनी काठमाडौंमा भने चक्रपथ महाराजगञ्जमा बसे ।

चक्रपथ क्षेत्रमा आफ्नो गतिविधि बिस्तार गरेर पछि चक्रे नामले नै अपराधको दुनियाँमा प्रख्यात भए । एक समय दरबारको निकट रहेको मानिने चक्रे २०४६ सालपछि भने एमाले बनेका हुन् । अनि महाराजगञ्ज क्षेत्रमा केटाहरू जम्मा पारेर त्यसक्षेत्रका बालुवा खानीका ठेक्काहरूमा कमिसन लिन थाले । महाराजगञ्ज क्षेत्रलाई आफ्नो आधार इलाका बनाउँदै ठेक्कापट्टामार्फत कमिसन र सलामी शेयर लिन थालेका उनी नदिनेविरुद्ध धम्की दिँदै कमिसन लिन थाले । सोही क्रममा पहिलो पटक चक्रे ७ साउन २०४७ मा पक्राउ परे ।

नारायणगढ–गैँडाकोट आइकोनिक केबल–स्टेड पुल निर्माणले लियो गति

चितवन । नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माणले गति लिएको छ । निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिले एक महिनाअघि पुल निर्माणको काम सुरु गरेको हो । कम्पनीका स्ट्रक्चरल इन्जिनियर सन्देश त्रिपाठीका अनुसार हाल पुल निर्माणको काम ‘टेस्टिङ फेज’ मा रहेको छ । प्रारम्भिक ‘डिजाइन’ तयार गर्दा गरिएको प्रयोग (एक्सपेरिमेन्ट) र त्यसबाट प्राप्त नतिजाका आधारमा पुलका विभिन्न संरचनात्मक पक्ष परीक्षण गर्दै काम अघि बढाइएको उनले जानकारी दिए ।

उनले भने, ‘डिजाइन गर्दा हामीले विभिन्न परीक्षण गरी पुलले कति भार थेग्न सक्छ भन्ने निर्धारण गरेका हुन्छौँ, फिल्डमा पनि त्यही भार थेग्न सक्छ कि सक्दैन भनेर परीक्षण गर्नुपर्छ, अहिले हामी त्यही चरणमा छौँ ।’ ‘टेस्टिङ’का लागि नेपालमै नयाँ प्रविधि ‘ओसेल’ प्रयोग गरिँदैछ । यस प्रविधिअन्तर्गत करिब ४५ मिटर गहिराइमा हाइड्रोलिक ज्याक राखी ‘कंक्रिटिङ’ गरिन्छ । सो उपकरण हाल चीनबाट ल्याउने प्रक्रियामा रहेको र उपकरण आएपछि थप काम तीव्र हुने इन्जिनियर त्रिपाठीले जानकारी दिए । उनका अनुसार ओसेल प्रविधि पाइलले कति भार सहन सक्छ भन्ने मापन गर्ने उपकरण हो । करिब ४५ मिटर लामो पाइलभित्र स्टिल केजमा हाइड्रोलिक ज्याक जडान गरिन्छ । कंक्रिटिङ गर्दा ज्याक फुल्दै जाँदा माथिल्लो र तल्लो भागमा पर्ने दबाब तथा प्रतिक्रिया (रेस्पोन्स) मापन गरिन्छ । यसबाट पाइलको वास्तविक भार बहन क्षमता यकिन गरिन्छ ।

हाल साइट क्याम्पमा छड बाँध्ने, कङ्क्रिट मिक्स डिजाइन गर्ने तथा स्टिल केज निर्माणका काम भइरहेको छ । यहाँ तयार गरिएका केजहरू फिल्डमा लगेर पिलरमा जडान गरिनेछ । पुलको डिजाइन अन्तर्राष्ट्रिय आइआरसी कोडअनुसार कम्तीमा १०० वर्ष आयु रहने गरी गरिएको छ । टेस्टिङ फेजमा श्रमिकको सङ्ख्या कम भए पनि यो चरण सकिएपछि थप जनशक्ति परिचालन गरिने योजना व्यवस्थापक इञ्जिनियर मञ्जिल मिश्रले बताए ।

इञ्जिनियर मिश्रका अनुसार बर्खा सुरु हुनुअघि नै फाउन्डेसनको काम सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ । प्रारम्भिक चरणमा टेस्ट पाइलको काम सकिएपछि परीक्षण कार्य अघि बढाइएको उनले बताए । चालु आर्थिक वर्षभित्र फाउन्डेसन तथा पाइलिङको काम सम्पन्न गर्ने लक्ष्य रहेको छ । उनका अनुसार पुलमा नदीतर्फ दुई र दायाँ–बायाँ गरी चार पिलर रहनेछन् । उनले भने, ‘ओसेल आउने बित्तिकै नारायणगढतर्फ पाइलिङको काम सुरु हुन्छ, एकातर्फ पाइलिङ गर्न करिब दुई महिना लाग्छ, अबको करिब एक हप्ताभित्र ओसेल आइपुग्ने अपेक्षा छ, नारायणगढतर्फको पाइलिङ सम्पन्न भएपछि गैँडाकोटतर्फ काम सुरु गरिनेछ, यस वर्ष फाउन्डेसन तथा केही सब–स्ट्रक्चरका काम सम्पन्न गर्ने लक्ष्य छ ।’

आइकोनिक केबल–स्टेड पुलमा आर्च ब्रिज, केबल नेटवर्किङ आर्च, सस्पेन्सनलगायत आधुनिक संरचनात्मक प्रविधि समावेश हुनेछन् । पुल निर्माणको लागत रु एक अर्ब ६८ करोड रहेको छ । सडक विभागले सन् २०२३ मा पुल निर्माणको ठेक्का दिएको हो । नारायणी नदीमा हाल रहेको पुलको समानान्तर निर्माण गरिँदै गरेको नयाँ पुलको लम्बाइ ४२० मिटर र चौडाइ १२ मिटर हुनेछ । पुलको आयु कम्तीमा १०० वर्ष रहने बताइएको छ । विसं २०८० जेठ १९ गते ठेक्का सम्झौतापछि निर्माण कम्पनीले अन्तिम डिजाइन तयार गरी प्रमाणीकरण प्राप्त गरेसँगै नयाँ पुल निर्माणले तीव्रता पाएको हो । रासस

कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरुले पार्टी विधानको धारा १७ (२) बमोजिम पार्टीको विशेष महाधिवेशन यही पुस २७–२८ गते गर्न माग गरेका छन् । उनीहरुले आज यहाँ पत्रकार सम्मेलन गरी विधानले तोकेको विशेष महाधिवेशनका लागि दर्ता निवेदनको समयसीमा ‘तीन महिना’ अर्थात् यही पुस २८ गतेभित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नैपर्नेबारेमा ध्यानाकर्षण गराएका हुन् ।

विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरू देवराज चालिसे, प्रमोदहरि गुरागाईं, मनोजमणि आचार्य, सुवास पोखरेल, नारायणप्रसाद भट्टराईलगायतले केन्द्रीय कार्यसमितिले यही पुस २६ देखि २८ गते नियमित महाधिवेशनको मिति तोके पनि उक्त कार्यतालिकाका कार्यक्रम स्थगित भइसकेको अवस्थामा सो माग गरेका हुन् । विधानले तोकेको समयसीमा (२०८२ मङ्सिर) भित्र १५औँ महाधिवेशन गर्न अन्यथा पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन आह्वान गत असोज २९ गते देशभरका दुई हजार ४८८ (५४ प्रतिशत) महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएको उनीहरुले अवगत गराएका छन् ।

साथै उनीहरुले गत भदौ २३ देखि २४ गतेपछिको विशेष राजनीतिक परिस्थितिमा कांग्रेसलाई थप सुदृढ, गतिशील र जनभावनाअनुरुपको बनाउन, समसामयिक नीति निर्माण गर्न तथा नयाँ ऊर्जा र नेतृत्वसहित पार्टी पुनर्निर्माणका लागि विशेष निर्णय गर्न महाधिवेशन अपरिहार्यताबारे निरन्तर आवाज उठाउँदै आएको उल्लेख गरेका छन् ।

 

गाम्बियाको तटमा आप्रवासी बोकेको डङ्गा डुब्दा सात जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एजेन्सी । गाम्बियाको तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा डुब्दा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै दर्जनौँ बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।

विज्ञप्ति जारी गर्दै गाम्बियन सरकारले अनुमानित २०० भन्दा बढी आप्रवासी बोकेको डुङ्गा समुद्रीक तटमा दुखद दुर्घटना भएको पुष्टि गरेको बताएको छ । डुङ्गा देशको उत्तरी किनाराको गिनाक गाउँ नजिकै दुर्घटना भएको बताइएको छ । अधिकारीहरूले डङ्गामा सवार कम्तीमा ९६ जनालाई उद्धार गरिएको र तीमध्ये धेरैजना गम्भीर घाइते भएको बताएका छन् । दुर्घटनाको सुचना प्राप्त भए पछि गाम्बियन नौसेनाले यस क्षेत्रमा उल्लेख्य नौसैनिक जहाजहरू तैनाथ गर्दै खोजी र उद्धार अभियान सुरु गरेको जनाएको छ ।

अनियमित आप्रवासीहरूले प्रायः स्पेनको क्यानरी टापुहरूमा खतरनाक एटलान्टिक तट पार गर्ने प्रयास गर्छन् । जसलाई उनीहरुले युरोपको प्रवेशद्वारका रुपमा प्रगोग गर्दै आएका छन । यद्यपि, सेनेगल, मौरितानिया र मोरक्कोको तटमा कडा समुद्री नियन्त्रणले तस्करहरूलाई गाम्बिया र गिनीबाट थप टाढाको प्रस्थान बिन्दुहरू प्रयोग गर्न बाध्य पारेको जनाइएको छ ।

किमले छोरीलाई बनाउलान् उत्तराधिकारी ?

कोरियो । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी किशोरी छोरीले पवित्र पारिवारिक समाधिमा गरेको पहिलो सार्वजनिक भ्रमणलाई लिएर उनको सम्भावित उत्तराधिकारीको रूपमा स्थान बलियो बनाउने कदमका रूपमा विश्लेषकहरूले हेरेका छन् । नयाँ वर्षको दिन बिहीबार सम्पन्न उक्त भ्रमणले उत्तर कोरियाको सत्ता राजनीतिमा नयाँ संकेत दिएको बताइएको छ ।

करिब १३ वर्षकी किम जु ए नाम भएकी किशोरीले प्योङयाङस्थित कुमसुसन प्यालेस अफ द सनमा आफ्ना आमा–बुबासँगै उपस्थित भई गहिरो सम्मान प्रकट गरेका थिए । यही दरबारमा उनका दिवङ्गत जिजुहजुरबुबा किम जोङ इल र हजुरबुबा किम इल सुङको शव संरक्षण गरी राखिएको छ । शुक्रबार सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा किम जु ए अगाडिको पंक्तिमा उभिएर श्रद्धापूर्वक नमन गरिरहेका छन् ।

दक्षिण कोरियाको निजी सेजोङ संस्थानका उपप्रमुख चेओङ सेओङ–चाङका अनुसार कुमसुसन दरबारलाई उत्तर कोरियाली शासनको वैधताको प्रतीक मानिन्छ । उनका अनुसार वर्कर्स पार्टीको आगामी काङ्ग्रेसको सन्दर्भमा किम जु एलाई त्यहाँ उपस्थित गराइनु राजनीतिक रूपमा योजनाबद्ध कदम हो, जसले उनलाई भावी उत्तराधिकारीका रूपमा प्रस्तुत गर्ने उद्देश्य बोकेको हुनसक्छ । ४१ वर्षीय किम जोङ उन सन् १९४८ मा उत्तर कोरियाको स्थापना भएयता शासन गर्दै आएको किम परिवारको तेस्रो पुस्ता हुन् । उनले प्रायः प्रमुख राज्य वार्षिकोत्सवका अवसरमा कुमसुसन दरबारमा पुगेर आफ्ना पिता र हजुरबुबाप्रति श्रद्धा अर्पण गर्ने परम्परालाई निरन्तरता दिँदै आएका छन् ।

चेओङ सेओङ–चाङले किम जोङ उनले आगामी वर्कर्स पार्टी काङ्ग्रेसमा आफ्नी छोरीलाई पार्टीको पहिलो सचिवजस्तो महत्त्वपूर्ण पद दिन सक्ने सम्भावना औँल्याएका छन् । तर अन्य केही विज्ञहरूको मतमा किम जु ए यति उच्च–प्रोफाइल जिम्मेवारी सम्हाल्न अझै कम उमेरकी छन्, त्यसैले उनलाई तल्लो तहको पदबाट राजनीतिक अभ्यास सुरु गराउन सकिने अनुमान गरिएको छ । पाँच वर्षपछि हुन लागेको यो काङ्ग्रेसको उद्देश्य राज्यका नीतिगत प्राथमिकता पुनःनिर्धारण गर्नु र नेतृत्व तहमा फेरबदल गर्नु हो । उत्तर कोरियाले काङ्ग्रेसको मिति औपचारिक रूपमा सार्वजनिक नगरे पनि दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार यो जनवरी वा फेब्रुअरी महिनामा हुनसक्ने सम्भावना छ ।

नोभेम्बर २०२२ मा पहिलो पटक राज्य सञ्चारमाध्यममा देखा परेपछि किम जु ए आफ्ना बुबासँग सैन्य परेड, अन्तरमहादेशीय मिसाइल प्रक्षेपण लगायतका महत्त्वपूर्ण कार्यक्रममा निरन्तर सहभागी हुँदै आएकी छन् । सेप्टेम्बरमा उनी आफ्ना बुबासँगै बेइजिङ भ्रमणमा गएकी थिइन् । यसै साता नयाँ वर्षको उत्सवका क्रममा उनले आफ्ना बुबाको गालामा चुम्बन गर्दै निकट पारिवारिक सम्बन्धसमेत सार्वजनिक रूपमा देखाएकी छन् । जनवरी २०२४ मा दक्षिण कोरियाली गुप्तचर एजेन्सीले किम जु एलाई किम जोङ उनको सम्भावित उत्तराधिकारीका रूपमा मूल्याङ्कन गरिएको जनाएको थियो । यद्यपि उनको कम उमेर र उत्तर कोरियाको शक्ति संरचना अत्यन्त पुरुष–प्रधान रहेको तथ्यलाई आधार बनाएर केही अन्तर्राष्ट्रिय विज्ञहरूले उक्त मूल्याङ्कनप्रति असहमति जनाउँदै आएका छन् । एजेन्सी

अल शबाब विरुद्ध मध्य क्षेत्रको अपरेसनमा २९ जना लडाकु मारिएको सोमाली सेनाको दावी

एजेन्सी- सोमालियाको सेनाले देशको मध्य क्षेत्रमा अल शबाब विरुद्ध सैन्य कारबाहीका क्रममा २९ जना अल शबाब लडाकु मारिएको दावी गरेको छ ।

विज्ञप्ति जारी गदौ सोमाली सेनाले राजधानी मोगादिशुको दक्षिण–पूर्वमा रहेको मध्य शाबेल क्षेत्रको जुबाद गुद्नी क्षेत्रमा आतङ्कवादी स्थानहरूलाई लक्षित गरी अपरेसन सरु गरेको बताएको छ । अपरेसनमा मारिनेहरूमा वरिष्ठ कमाण्डर र प्रमुख अपरेटिभहरू समेत रहेको सेनाले जनाएको छ । पछिल्लो हप्तादेखि चलिरहेको अभियानको एक हिस्साको रूपमा अन्तर्राष्ट्रिय साझेदारहरूसँग समन्वयमा अपरेसन गरिएको विज्ञप्तिमा भनिएको छ ।

सेनाले व्यापक अभियानले अलनाली र हावडलेका क्षेत्रहरू पनि समेटेको उल्लेख गर्दै लगभग १३५ अल शबाब लडाकुहरूको मृत्यु भएको र समूहका धेरै आधारहरू ध्वस्त भएको जनाएको छ । अल कायदासँग जोडिएको अल शबाबले एक दशक भन्दा बढी समयदेखि सोमाली सरकारसँग लडिरहेको छ । पछिल्लो समयमा सोमाली सुरक्षा बलले समूहको बिरूद्ध तीव्र आक्रमणको एक हिस्साको रूपमा देशको मध्य र दक्षिणी भागका धेरै सहर र गाउँहरू पुनः कब्जा गरेको छ ।

चितवन क्षेत्र नम्बर १मा रास्वपाबाट प्रत्यक्षतर्फ युवा नेता प्रदीप उप्रेतीको दाबी

विगत एक दशकदेखि वैकल्पिक राजनीतिक आन्दोलनमार्फत नेपालको आर्थिक ,राजनीतिक र सामाजिक जागरणको निमित्त आवाज उठाइरहेका भएका  प्रदिप उप्रेतीले चितवन क्षेत्र न. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी मार्फत उम्मेदवारीको आकांक्षीको रुपमा आवेदन दिएका छन्।

विवेकशील अभियान मार्फत राष्ट्रिय राजनीतिमा प्रवेश गर्दै युवाहरुको सकृय सहभागिता र नीति – निर्माणको तहमा युवाहरुको हस्तक्षेपकारी भुमिकाका लागि खबरदारी गर्दै आएका उप्रेती यसअघि विवेकशील साझा युवा संगठनको सचिवालय सदस्य तथा बागमती प्रदेश संयोजक थिए ।

उनले २०७४ र २०७९ सालको संघीय चुनावमा काठमाडौ क्षेत्र न. २ को चुनावी अभियानको कमान्ड पनि सम्हालेका थिए ।  केही समय अघि राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीविच एकीकरण भएपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा सक्रिय भएका हुन्। यसै सिलसिलामा फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फ उनले चितवन क्षेत्र न.१ मा उम्मेदवारको आकांक्षीको रुपमा आवेदन पेश गरेका हुन्।

कांग्रेसमा विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्यो : निधि

काठमाडौँ । नेपाली कांग्रेस नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेकाले महामन्त्रीले बोलाएको भेलाको कुनै अर्थ नभएको टिप्पणी गरेका छन् । मंसिर १५ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सर्वसम्मतिबाट नियमित कार्यतालिका पास भएपछि विशेष महाधिवेशनको औचित्य त्यसै समाप्त भएको उनले बताए।

‘जुन दिन पुस २६ देखि २८ सम्म नियमित महाधिवेशन हुन्छ भनेर सर्वसम्मतिले निर्णय भयो त्यसै दिनदेखि हो । विशेष महाधिवेशनको औचित्य समाप्त भएको हो,’ उनले भने, ‘विशेष महाधिवेशन नगर्नेबारेमा १५ गते नै टुङ्गो लागिसकेको छ ।’ सबै दल निर्वाचनमा होमिइसकेकाले निर्वाचनअगाडि विशेष वा नियमित महाधिवेशन हुन नसक्ने पनि उनको भनाइ छ । महामन्त्रीहरूले बोलाएको विशेष महाधिवेशन गैरजिम्मेवारपूर्ण काम भएको उनको प्रतिक्रिया छ ।

‘केन्द्रीय कार्यसमितिले जे निर्णय गरेको छ त्यसको कार्यान्वयन गर्नुको महामन्त्रीको काम हो । केन्द्रीय कार्यसमितिले त अहिले विशेष महाधिवेशन गर्ने भनेर निर्णय गरेको छैन,’ उनले भने, ‘त्यसैले विशेष महाधिवेशनका लागि आह्वान गर्नु भनेको केन्द्रीय कार्यसमितिको निर्णयविपरीतको काम हो ।’ सहमतिका लागि सभापतिसँग बसेर मिलाउने कुनै प्रयास भएको छ भन्ने प्रश्नमा नेता निधिले भने, ‘त्यसबारे मलाई जानकारीमा छैन । उहाँहरूले त हामीलाई गर्नुभएको छैन । केको छलफल गर्नु ?’

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसम्पादन समितिमा रहेका संस्थापन पक्षका सदस्यहरूसँग आज दिउँसो छलफल गर्दैछन्। आजै बस्ने केन्द्रीय कार्यसम्पादन समितिमा प्रस्तुत गर्ने धारणाका बारेमा पनि उक्त छलफलमा कुराकानी हुने बताइएको छ । महामन्त्रीद्वय गगन थापा र विश्विप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गर्दै पुस २७–२९ मा विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसमा तरंग पैदा भएको छ ।

 

अवैध ‘भर्चुअल’ सम्पत्तिका ६५८ शंकास्पद कारोबार

काठमाडौं ।  नेपालमा अवैध मानिएको ‘भर्चुअल’ सम्पत्तिको शंकास्पद कारोबार पछिल्ला वर्षमा बढ्दै गएको छ । नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारी एकाइले बिहीबार सार्वजनिक गरेको भर्चुअल सम्पत्ति (भर्चुअल एसेट) सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन, २०२५ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट, २०२५ अन भर्चुअल एसेट) अनुसार पछिल्लो पाँच वर्षमा मात्र ६५८  शंकास्पद कारोबारको राष्ट्र बैङ्कले जानकारी पाएको छ ।
नेपालमा भर्चुअल सम्पत्ति (भर्चुअल एसेट) को कारोबार अवैध हो । बिटकोइन, इथेरियम जस्ता क्रिप्टो, स्टेबलकोइन, युटिलिटी टोकन तथा अन्य टोकनाइज्ड एसेट भर्चुअल सम्पत्तिभित्र पर्छन् । जसलाई व्यापार गर्न, स्थानान्तरण गर्न, भुक्तानी तथा लगानीका लागि प्रयोग गर्ने गरिन्छ । प्रतिवेदनअनुसार २०२१ जनवरीदेखि २०२५ जुलाईसम्ममा ६५८ शंकास्पद कारोबार र शंकास्पद गतिविधिको जानकारी राष्ट्र बैङ्कअन्तर्गतको वित्तीय जानकारी एकाइले पाएको छ । सन् २०२१ मा १३, सन् २०२२ मा १७३, सन् २०२३ मा १३८ र सन् २०२४ मा २५२ वटा यस्तो कारोबार र गतिविधिको जानकारी एकाइलाई आएका छन् ।
त्यस्तै, २०२५ को जुलाई १६ सम्ममा ८२ कारोबार र गतिविधिको जानकारी राष्ट्र बैङ्कले पाएको छ । हालसम्म प्राप्त शंकास्पद कारोबार ‘रिपोर्ट’ अनुसार सबैभन्दा धेरै ९१ प्रतिशतभन्दा बढी अर्थात् ६ सयवटा वाणिज्य बैङ्कका छन् । त्यस्तै, ४८ विकास बैङ्क, ६ वटा रेमिट्यान्स कम्पनी, दुई वित्त कम्पनी, एउटा भुक्तानी प्रणाली सञ्चालक र एउटा स्टक ब्रोकरसँग सम्बन्धित रहेको छ । यसरी जानकारीमा आएका शंकास्पद कारोबार र गतिविधिलाई राष्ट्र बैङ्कले विभिन्न निकायमा पठाउने गरेको छ ।
प्रतिवेदनअनुसार पछिल्लो पाँच वर्षमा राष्ट्र बैङ्कले २३२ वटा नेपाल प्रहरीलाई, ११५ वटा राजस्व अनुसन्धान विभागलाई, ६ वटा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई, तीनवटा राष्ट्र बैङ्कअन्तर्गतको भुक्तानी सेवा विभागलाई र एउटा आन्तरिक राजस्व विभागलाई पठाएको छ । राष्ट्र बैङ्कका निर्देशक तथा वित्तीय जानकारी एकाइका प्रमुख वासुदेव भट्टराई शंकास्पद कारोबार बारेका जानकारी विभिन्न अनुसन्धान निकायलाई उपलब्ध गराएको र ती निकायबाट थप अनुसन्धान अघि बढ्ने बताउँछन् ।
‘हामीले जानकारीमा आएका शङ्कास्पद भर्चुअल सम्पत्तिको कारोबारसँग सम्बन्धित विवरण विभिन्न निकायलाई उपलब्ध गराएका छौं । थप अनुसन्धान गर्ने, अदालतमा मुद्दा अभियोजन गर्ने र त्यहाँ पुष्टि भएपछि मात्रै यस्तो कारोबार भए–नभएको यकिन हुने हो’, उनले भने । भर्चुअल सम्पत्तिको शंकास्पद कारोबार गर्ने व्यक्तिको उमेर समूह हेर्ने हो भने ३५ प्रतिशत २६ देखि ३० वर्षका, २० प्रतिशत २१ देखि २५ वर्षसम्मका, २० प्रतिशत ३१ देखि ३५ वर्षका, १२ प्रतिशत ३६ देखि ४० वर्षका, १० प्रतिशत ४१ वर्षभन्दा माथि र तीन प्रतिशत १६ देखि २० वर्ष उमेर समूहका रहेका छन् । यस्तो शंकास्पद कारोबारमा सबैभन्दा धेरै २९ प्रतिशत विद्यार्थी रहेको पाइएको छ । त्यस्तै, २१ प्रतिशत जागिरे, १९ प्रतिशत विभिन्न व्यवसायका मालिक, पाँच प्रतिशत कृषि, दुई प्रतिशत इञ्जिनियर, नौ प्रतिशत वैदेशिक रोजगारमा गएका व्यक्ति तथा चार प्रतिशत स्वरोजगार रहेका छन् ।
चिकित्सक, धार्मिक व्यक्ति र गृहिणी समान एक–एक प्रतिशत छन् । २६ प्रतिशत व्यक्तिको बैङ्क अकाउन्ट बाइनान्स, क्रिप्टो, विटक्वाइन, हाइपर फन्ड, हाइपरभर्स, एमटी क्वाइनजस्ता भर्चुअल सम्पत्तिको खरिद–बिक्रीमा जोडिएको भनेर उनीहरुकै बैङ्क स्टेटमेन्टबाट देखिएको पनि प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, १६ प्रतिशत व्यक्ति भर्चुअल सम्पत्तिको कारोबारमा संलग्न रहेको भनेर विभिन्न अनौपचारिक स्रोतबाट र इमेलबाट जानकारी पाएको, दुई प्रतिशत व्यक्तिले क्रिप्टो व्यापारका लागि अर्को व्यक्तिको बैङ्क खाता प्रयोग गर्ने (मनी म्युल) को प्रयोग गर्ने गरेका कारण शंकामा परेको राष्ट्र बैङ्कले जनाएको छ ।
त्यस्तै, पाँच प्रतिशत क्रिप्टो विटक्वाइन तथा स्केल टोकन खरिदका लागि डलर कार्डको प्रयोग गर्ने गरेको, दुई प्रतिशत ग्याम्बलिङ र क्रिप्टोमा संलग्न भएको, दुई प्रतिशत क्रिप्टो र हुन्डीमा संलग्न रहेको तथा चार प्रतिशतले क्रिप्टो फ्रड अर्थात् अरू व्यक्तिले त्यस्तो कारोबारका लागि प्रेरित गरेको प्रतिवेदनमा उल्लेख छ । बयालिस प्रतिशत भने उनीहरुको कारोबारको अवस्था हेरेर शंकामा परेको प्रतिवेदनमा जनाइएको छ । उनीहरुको बैङ्क खातामा पटक–पटक रकम जम्मा गर्ने र झिक्ने गरेको पाइएका कारण शंकास्पद कारोबारका रुपमा चित्रित गरिएको प्रतिवेदनमा उल्लेख छ ।

चुनाव फागुन २१ मै हुनुपर्छ, उम्मेदवार बन्ने मन्त्रीले राजीनामा दिनुपर्छ : योगेश भट्टराई

मोरङ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, स्वच्छ र पारदर्शी बनाउन बहालवाला पार्टीका मन्त्रीहरूले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले मन्त्री पदमै बसेर चुनावी प्रतिस्पर्धामा उत्रिनु नैतिक र व्यावहारिक दुवै दृष्टिले गलत हुने तर्क गरे । निर्वाचनमा सत्ताको दुरुपयोग हुने आशंका औंल्याउँदै उनले लोकतान्त्रिक अभ्यासको मर्यादा कायम गर्न मन्त्रीहरूले जिम्मेवारी त्याग्नु अनिवार्य रहेको बताए ।

विशेषगरी हालै रास्वपामा समाहित भएका मन्त्री कुलमान घिसिङतर्फ संकेत गर्दै भट्टराईले भने, ‘निर्वाचनको निष्पक्षता सुनिश्चित गर्न मन्त्री पदमा रहेर चुनाव लड्नु उपयुक्त हुँदैन । यस्तो अवस्थामा राजीनामा दिनु नै सही विकल्प हो ।’ घिसिङले मन्त्री पदबाट राजीनामा दिनुपर्ने विषय पछिल्लो समय राजनीतिक वृत्तमा व्यापक रूपमा उठिरहेको छ ।

उनका अनुसार आगामी माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता हुने कार्यतालिका रहेकाले त्यसअघि नै मन्त्रीहरूले पद छाड्नु उचित हुनेछ । प्रधानमन्त्री सुशीला कार्कीले अघिल्ला दिनमा व्यक्त गरेका प्रतिबद्धता स्मरण गराउँदै उनले सरकारबाट शक्ति दुरुपयोग हुन सक्ने सम्भावनाप्रति सचेत रहनुपर्ने बताए । निर्वाचनको मिति र परिस्थितिबारे पनि भट्टराईले ध्यानाकर्षण गराए। फागुन २१ गते तराई–मधेश क्षेत्रमा होली पर्व पर्ने र हिमाली क्षेत्रमा सम्भावित हिमपातका कारण मतदान प्रभावित हुन सक्ने उल्लेख गर्दै उनले आवश्यक परे निर्वाचनलाई विभिन्न चरणमा सम्पन्न गर्ने विकल्पबारे सरकार गम्भीर हुनुपर्ने सुझाव दिए । ‘संक्रमणकाल अनावश्यक रूपमा लम्बिँदा संविधान र लोकतान्त्रिक व्यवस्थामाथि नै संकट आउन सक्छ’, उनले भने, ‘त्यसैले तोकिएको समयमै निर्वाचन हुनुपर्छ र सरकारले मतदाताले ढुक्कसँग मतदान गर्न पाउने सुरक्षित वातावरण निर्माण गर्नुपर्छ ।’

पार्टीको आन्तरिक राजनीतिबारे धारणा राख्दै भट्टराईले नेकपा एमाले महाधिवेशनको म्यान्डेटअनुसार अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एकताबद्ध भएर अगाडि बढ्ने दाबी गरे । महाधिवेशनमा भएको प्रतिस्पर्धालाई स्वाभाविक प्रक्रिया भन्दै उनले पराजित पक्षलाई कारबाही गरिने भन्ने चर्चामा कुनै सत्यता नरहेको स्पष्ट पारे । उनका अनुसार पार्टी अहिले आन्तरिक विवादभन्दा बाहिर निस्कँदै पूर्ण रूपमा चुनावी अभियानमा केन्द्रित भइसकेको छ । यसैबीच ताप्लेजुङ जाने क्रममा एमाले नेता भीम रावल र उपमहासचिव भट्टराई एउटै विमानबाट विराटनगर अवतरण गरेका थिए । विमानस्थलमा नेता वासिम आलमलगायत कार्यकर्ताहरूले भट्टराईलाई खादा लगाएर स्वागत गरेका थिए ।

 

प्रतिनिधी सभा निर्वाचनका उम्मेदवारले अधिकतम् तेत्तीस लाख खर्च गर्न पाउने

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको सिमा निर्धारण गरेको छ। शुक्रबार एक सुचना जारी गर्दै आयोगले निर्वाचनमा खर्चको सिमा तोकेको हो । 

आयोगले जारी गरेको सुचनाका अनुसार एक उम्मेदवारले अधिकतम तेत्तिस लाखसम्म खर्च गर्न पाउनेछ ।  प्रतिनिधीसभा निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चका सम्बन्धमा निर्वाचन आयोगले २०७९ असोज ३१ नेपाल राजपत्र , भाग-५ र संख्या-४१ अनुसार यसअघि देशैभरका निर्वाचन क्षेत्रलाई ‘क’, ‘ख’, ‘ग’, ‘घ’ र ‘ङ’ गरी पाँच भागमा विभाजन गरेको छ ।

आयोगले गरेको विभाजन अनुसार ‘क’ श्रेणीमा ५ वटा निर्वाचन क्षेत्र, ‘ख’ मा १७, ‘ग’ मा ६५, ‘घ’ मा ५२ र ‘ङ’ श्रेणीमा २६ वटा निर्वाचन क्षेत्र रहेका छन् । जस अनुसार ‘क’ मा पर्ने निर्वाचन क्षेत्रका उम्मेदवारले चुनावमा  अधिकतम् पच्चीस लाख सम्म खर्च गर्न पाउने छन् । 

क्रमश: ‘ख’ मा रहेका निर्वाचन क्षेत्रका उम्मेदवारले सत्ताईस लाख, ‘ग’ मा भएका निर्वाचन क्षेत्रका उम्मेदवारले उनान्तीस लाख, ‘घ’ मा समावेश निर्वाचन क्षेत्रका उम्मेदवारले एकतिस लाख र ‘ङ’ मा हुने निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम् तेत्तीस लाखसम्म खर्च गर्न पाउने छन् । 

‘क’, ‘ख’, ‘ग’, ‘घ’ र ‘ङ’ मा रहेका निर्वाचन क्षेत्रको सुची:

)

 

संस्थापन पक्षका नेताहरुलाई गगन–विश्वले भने–पार्टी विभाजन हुँदैन

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर चर्किँदै गएको विवादबीच संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले पार्टी नेतृत्वसँग लगातार छलफल थालेका छन् । पार्टी विभाजनको आशंका बढ्न थालेपछि ती नेताहरूले सभापति शेरबहादुर देउवालगत्तै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेट गरी सहमतिमार्फत निकास खोज्न आग्रह गरेका हुन् । शुक्रबार बिहान सभापति देउवासँग छलफल सकेर निस्किएका २५ केन्द्रीय सदस्यले काठमाडौंको महाराजगञ्ज आसपासमा महामन्त्रीद्वयसँग भेट गरेका थिए । भेटमा विशेष वा नियमित महाधिवेशनको नाममा पार्टीलाई विभाजनतर्फ नलैजान आग्रह गरिएको सहभागी नेताहरूले बताएका छन् ।

केन्द्रीय सदस्य डिला संग्रौलाका अनुसार महाधिवेशनसम्बन्धी विवादले पार्टी कमजोर हुने संकेत देखिएपछि संयुक्त रूपमा नेतृत्वसँग संवाद गरिएको हो । ‘पार्टीभित्र देखिएको अन्योल र असहमतिको समाधान सहमतिमै खोज्नुपर्छ भन्ने हाम्रो आग्रह हो’, उनले भनिन्, ‘महामन्त्रीहरू पनि समाधानप्रति सकारात्मक देखिनु भएको छ ।’ उनका अनुसार महामन्त्री थापा र शर्माले पार्टी विभाजनको पक्षमा आफूहरू नरहेको स्पष्ट सन्देश दिएका छन् । ‘उहाँहरूले कांग्रेसलाई फुटतर्फ लैजाने कुनै कदम नचाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो’, संग्रौलाले जानकारी दिइन् ।

त्यस्तै, केन्द्रीय सदस्य पुष्पा भुसालले पनि भेटमा पार्टीलाई कमजोर बनाउने वा फुटाउने कुनै मनसाय नरहेको कुरा महामन्त्रीद्वयले स्पष्ट पारेको बताइन् । ‘पार्टी एकताबद्ध राख्नु नै अहिलेको आवश्यकता हो भन्नेमा उहाँहरूको जोड थियो’, भुसालले भनिन् । महाधिवेशनको समय र स्वरूपलाई लिएर कांग्रेसभित्र फरक–फरक मत देखिँदै आएको छ । यही विषयले आन्तरिक तनाव बढ्दै गएपछि संस्थापन पक्षका नेताहरूले सक्रिय रूपमा नेतृत्वसँग संवाद थालेका हुन् । उनीहरूको पहलले पार्टीभित्र सहमतिको वातावरण बन्ने अपेक्षा गरिएको छ । कांग्रेस नेतृत्वस्तरमा भएको पछिल्लो छलफललाई पार्टीलाई विभाजनबाट जोगाउँदै एकताबद्ध रूपमा अघि बढाउने प्रयासका रूपमा हेरिएको छ ।

नेपालमा पाकिस्तानी र बंगलादेशी मोडेलको प्रतिशोधको राजनीति टुसायो : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालमा प्रतिशोधको राजनीतिले जरा गाड्न थालेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले पाकिस्तानी र बंगलादेशी मोडेलको प्रतिशोधको राजनीतिक अभ्यास अब नेपाली राजनीतिमा पनि देखिन थालेको टिप्पणी गरेका हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले अहिलेको राजनीति अत्यधिक सत्ताकेन्द्रित बन्दै सैद्धान्तिक जग गुमाउँदै गएको परिणाम स्वरूप यस्तो अवस्था आएको बताए । उनले लेखेका छन्, ‘लामै समयदेखि चल्दै आएको पाकिस्तानी र पछिल्लो समय जरा गाड्दै गएको बङ्गलादेशी मोडेलको प्रतिशोधी राजनीतिले अब नेपाली राजनीतिमा टुसा हालेको प्रष्ट संकेत दिन थालेका छन् ।’

बास्कोटाका अनुसार सत्तामै केन्द्रित राजनीति कमजोर बन्दै जाँदा घृणा, बदला र टकरावको राजनीति हावी हुने जोखिम बढेको छ । उनले यस्तो प्रवृत्तिले लोकतान्त्रिक मूल्य–मान्यतालाई क्षति पु¥याउने भन्दै सचेत गराएका छन् । ‘यो अति सत्ताकेन्द्रित राजनीतिले सैद्धान्तिक जग गुमाएको परिणाम हो। यसले घृणाको सीमारेखा काटेर हिंस्रक बाटो नसमाओस्,’ भन्दै उनले राजनीतिक दलहरूलाई आत्मसमिक्षा गर्न आग्रह गरेका छन् ।

दुई प्रधानमन्त्रीलाई जाँचबुझ आयोगको प्रश्नपत्र

काठमाडौं । जेनजी आन्दोलनका नाममा भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाको गहिरो अध्ययन गरिरहेको जाँचबुझ आयोगले अनुसन्धानको दायरा राजनीतिक नेतृत्वसम्म विस्तार गरेको छ । आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लिखित प्रश्न पठाइसकेको छ भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले घटनामा १९ जना युवाको ज्यान जाने गरी भएको राज्य–प्रतिक्रिया, त्यसपछिको अराजकता र समग्र शासकीय कमजोरीको अध्ययन गरिरहेको छ । स्रोतका अनुसार देउवा र दाहाललाई बयानकै शैलीमा प्रश्न पठाइएको हो । ओलीलाई भने औपचारिक पत्रमार्फत बयानका लागि उपस्थित हुन भनिने तयारी छ । आयोगको निर्णयअनुसार ओलीमाथि उपत्यका छाड्न नपाउने तथा विदेश भ्रमणमा रोक लगाउने व्यवस्था यथावत् छ । आन्दोलनका दिनहरूमा जिम्मेवारीमा रहेका प्रशासनिक र प्रहरी नेतृत्वसँग बयान लिइसकेपछि आयोग राजनीतिक तहसँग संवादमा प्रवेश गरेको हो । यसले घटनालाई केवल सुरक्षा चुकावटको विषयमा सीमित नराखी निर्णय–प्रक्रिया, राजनीतिक निर्देशन र संस्थागत संरचनासम्म केलाउने संकेत दिएको छ ।

आयोगले तथ्य संकलनसँगै नीतिगत सुधारका बृहत्तर सुझावसहित प्रतिवेदन तयार गर्ने तयारी थालेको छ । भौतिक र मानवीय क्षतिको कारण पहिचान गर्दै दोषीमाथि कारबाही सिफारिस गर्ने कार्यादेश भए पनि, घटनाको पृष्ठभूमिमा रहेको कुशासन, भ्रष्टाचार र शासन–प्रणालीका कमजोरीलाई पनि समेट्ने आयोगको ठम्याइ छ । स्रोतका अनुसार हालको निर्वाचन प्रणाली र शासकीय स्वरूपले राजनीतिक अस्थिरता र भ्रष्टाचारलाई बढावा दिएको निष्कर्षतर्फ आयोग उन्मुख छ । त्यसैले निर्वाचनलाई कम खर्चिलो बनाउने, सांसद मन्त्री बन्न नपाउने व्यवस्था विकास गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी तथा संसद बाहिरबाट विज्ञ मन्त्री नियुक्त गर्ने जस्ता विकल्पमाथि सुझाव आउने सम्भावना छ । पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे पनि प्रतिवेदनमा चर्चा हुने संकेत छ ।

आयोगले गैरसरकारी संस्था (एनजिओ–आइएनजिओ) हरूको भूमिकालाई पनि समीक्षा गर्ने तयारी गरेको बुझिएको छ । दातृ निकायको सहयोगमार्फत नीति–निर्माणमा प्रभाव, राजनीतिक तथा प्रशासनिक नेतृत्वलाई सुविधा उपलब्ध गराउने अभ्यास, र सामाजिक मुद्दाका नाममा राजनीति प्रभावित पारिएको आरोपहरू प्रतिवेदनमा सन्तुलित ढंगले समेटिने बताइन्छ । यसै सन्दर्भमा समाज कल्याण परिषद्का सदस्य–सचिवलाई बयानमा बोलाइनु र परिषद्को अनुगमनको तयारीलाई आयोगको गम्भीरताको संकेतका रूपमा हेरिएको छ ।

आयोगको अध्ययनले सेवा प्रवाहसँग प्रत्यक्ष जोडिएका अदालत, प्रहरी, नापी, मालपोत, यातायात, कम्पनी रजिस्ट्रार जस्ता कार्यालयमा देखिएको ढिलासुस्ती र खर्चिलो प्रक्रिया जनआक्रोशको प्रमुख कारण भएको निष्कर्ष निकालेको छ। न्याय प्रणालीप्रतिको बढ्दो वितृष्णा र प्रशासनिक जटिलताले आन्दोलनलाई उग्र बनाएको आयोगको ठहर छ । भदौ २४ गते केही स्वार्थ समूहले छानीछानी आगजनी गरेको घटनासँगै, दीर्घकालीन रूपमा न्याय र प्रशासनिक सुधार नगरे भविष्यमा यस्ता ध्वंसात्मक आन्दोलन दोहोरिन सक्ने चेतावनी पनि प्रतिवेदनमा रहनेछ । न्यायाधीश, वकिल, सुरक्षा निकाय, निजामती प्रशासन तथा राजस्वसँग सम्बन्धित निकायका कर्मचारीको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने प्रस्ताव समेत उठ्न सक्ने स्रोतको भनाइ छ ।

सरकारले असोज ५ गते कार्कीको संयोजकत्वमा विज्ञानराज शर्मा र विशेश्वरप्रसाद भण्डारी सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको थियो । तीन महिने कार्यावधि पाएको आयोगको समय एक महिना थप भई माघ ५ सम्म कायम गरिएको छ । तत्कालीन प्रधानमन्त्री ओलीबाहेक घटनासँग सम्बन्धित सबै पक्षसँग बयान लिइसकेको आयोगले अब राजनीतिक नेतृत्वको बयान सकेर औपचारिक प्रतिवेदन लेखन सुरु गर्ने तयारी गरेको छ । आयोगको निष्कर्ष र सिफारिसले केवल एक घटनाको मूल्यांकन मात्र नभई मुलुकको शासकीय सुधारको दिशामा बहस चर्काउने अपेक्षा गरिएको छ ।

समानुपातिक प्रणाली प्रत्यक्षमा चुनाव लड्ने हैसियत भएकाहरूको लागि होइन (भिडियोसहित)

समानुपातिक निर्वाचन प्रणालीमा प्रश्न किन उठिरहेको छ ? दलहरूले बुझाएको सूचीमा असन्तुष्टी किन छ ? यो बुझ्नका लाागि हामीले यसको आवश्यकता किन पर्‍यो -संविधान सभाले संविधानमा यो किन राख्यो भन्ने बुझ्नु पर्छ । नेपाली समाज समाज विविधतापूर्ण छ । आर्थिक, सांस्कृतिक, लैंगिक, भौगिलक विविधता छ । त्यसलाई हामीले एकदम गाह्रो गरी मात्रै बुझ्यौँ । नेपाली राजनीतिले गाह्रो गरी मात्रै बुझ्यो, जबर्जस्ती मात्रै बुझ्यो ।

त्यसमाथि प्रतिनिधिमूलक लोकतन्त्र भनिसकेपछि यसका केही आयामहरू हुन्छन् । एउटा प्रतिनिधि प्रत्यक्ष जितेर जान्छ, जितेर गएको प्रतिनिधि अर्को तहमा फेरि जित्छ । अथवा जितेर गएपछि फेरि दोस्रो, तेस्रो तहमा भोट हाल्ने शृंखला बनाइएको हुन्छ । त्यति गरिरहँदा पनि केही मान्छे छुट्छन् । केही मान्छेको आवाज छुट्छ । गरिबको आवाज छुट्छ । टाढाको मान्छेको आवाज छुट्छ । बोल्न नसक्ने, सांस्कृतिक, भौगोलिक, वर्गीय र लैङ्गिक हिसाबले पछिपरेका अथवा पारिएका मान्छेहरू छुट्छन् ।

तर, राज्यसत्ता सञ्चालनमा तिनीहरूको आवाज पुग्न जरुरी हुन्छ । आवाज पुग्यो भने के हुन्छ त ? राज्यले सीमान्तकृतको पीडा बुझ्छ । अर्को कुरा, सरकार अथवा राज्य सञ्चालनमा सबै जनताको स्वीकार्यता बढ्छ । यसले लोकतन्त्र र राज्यलाई नै बलियो बनाउँछ । वर्गीय हिसाबले, आर्थिक हिसाबले र भौगोलिक रुपमा पछि परेका कर्णालीको मान्छे कुनै तरिकाबाट संसदमा पुग्यो भने उसले संसदमा पुगेर आफ्नो गाउँठाउँ र आफूले प्रतिनिधित्व गर्ने जातीय, क्षेत्रीय तथा लैङ्गिक समाजलाई यो राज्य मेरो पनि हो भनेर बुझाउँछ । यसले समाजमा वैमनस्यता कम हुन्छ र अपनत्व बढ्दै जान्छ । साथै, आर्थिक, समाजिक र राजनीतिक हिसाबले समाज निरन्तर सकारात्मक दिशामा अघि बढ्न सहयोग गर्छ ।

यसलाई आत्मसात गरेर हाम्रो संविधानले यो समानुपातिक प्रणालीको खोजी गर्‍यो । र, संविधान सभाले यसलाई आत्मसात गर्‍यो । यसलाई संघ र प्रदेश दुई तहकै सरकारमा सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्छ भनेर संसदमा समानुपातिक निर्वाचनको व्यवस्था ल्याइएको हो । अर्कातिर, गाउँपालिका वा नगरपालिकास्तरमा केही ठाउँहरूमा ती समूहबाट प्रतिनिधित्व जित्नै पर्ने व्यवस्था गरियो । खासगरी मेयर र उपमेयरमध्ये एक महिला उठाउनै पर्ने र वडा समितिमा एक दलित महिला हुनै पर्ने अनिवार्य व्यवस्था गरियो । क्रमिक रुपमा नेतृत्व विकास होस् भनेर यो व्यवस्था गरिएको हो । त्यो पनि एक तहको समानुपातिक प्रणाली नै हो ।

यस्तो उद्देश्यले ल्याएको समानुपातिक प्रणालीबारे दुईवटा चुनावमै हामीले समीक्षा गर्ने बेला आउनुपर्ने थियो तर आयो । विविध राजनीतिक कारणले, सामाजिक उथलपुथल र हाम्रो राजनीतिक उथलपुथलको कारणले यसको बारेमा हामीले ठीक–बेठीक के भयो भनेर छलफल गर्ने बेला आयो । दोस्रो चुनावले पूरा कार्यकाल पूरा नगर्दै हामी एकचोटि फेरि राजनीतिक हिसाबले फरक तरिकाले सोच्नुपर्ने मोडमा उभियौँ । तर, अहिले यो सिस्टम ठीक छैन, यो राजनीतिक प्रणाली ठीक छैन भनेर आन्दोलन गरेकाहरूले पनि राजनीतिक प्रणाली चाहिँ ठीकै छ, हाम्रो संविधान पनि ठीकै छ, तर यहाँ नेतृत्व गर्ने व्यक्ति खराब हुन् है भन्ने ठाउँमा पुगे । गलत प्रयोग गरिएको हो तर हतियार चाहिँ ठीक छ भन्ने ठाउँमा पुगेका छन् ।

त्यसैले नै अहिले समानुपातिक तर्फ दलहरूले बुझाएको बन्द सूचीमा प्रश्न उठेको हो । समानुपातिकको बन्द सूचीमा आज समावेश गरिएका नामहरूले भोलि प्रदेशमा हुने समानुपातिक, लोकसेवामा हुने समानुपातिक, वडामा प्रतिनिधित्व गरिने कुरादेखि, मेयर–उपमेयर लेभलको चुनावमा टिकट दिइने कुरासम्म समाजलाई एउटा लामो शृंखलामा डोर्‍याउनेवाला छ । झट्ट हेर्दा कहीँ न कहीँ नयाँ भनिएकाहरूले यो व्यवस्था, संविधान र हाम्रो राजनीतिक व्यवस्था ठीकै छ भनिरहँदा पुरानाहरूले गरेका गल्तीहरूलाई दोहोर्‍याउन खोजे जस्तो देखियो । उदाहरणका लागि, आर्थिक रूपमा असाध्यै सम्पन्न, त्यसपछि वर्गीय हिसाबले र सामाजिक चेतनाको हिसाबले पनि ए–ग्रेडको अथवा मानव विकास संसाधनको हिसाबले अति माथि रहेका पर्‍यो भने प्रत्यक्ष चुनाव लडेर जित्न पनि सक्ने मान्छेहरू पनि बन्द सूचीमा देखिए ।

प्रत्यक्ष चुनाव लडिसकेपछि जित्नै पर्छ भन्ने छैन । त्यो कुरा बिर्सेको देखिन्छ । हामीले चुनाव लड्नु भनेको जित्नु नै हो भन्ने बुझ्यौँ । तर, लोकतन्त्रमा चुनाव हार्नु पनि जित्नु हो । प्रत्यक्षमा जान सक्नेहरूले समानुपातिकमा बस्न हुँदैन थियो । आर्थिक रूपमा सम्पन्न, सामाजिक रूपमा सम्पन्न र पटक–पटक मौका पाएकाहरू समानुपातिकको लिस्टमा यसरी मरिहत्ते गरेको देखिनु र पार्टी नेतृत्वले पनि त्यसलाई स्वीकार गर्नु हुँदैन थियो । उनीहरूले समानुपातिकलाई संसद छिर्ने सजिलो बाटो खोज्दा कसैको भाग काटिएको कुरा बुझ्न पथ्र्यो । त्यसले गर्दा दलितलाई कोटा नपुगेको, कतिपय जिल्लाको नै प्रतिनिधित्व नभएको, भौगोलिक हिसाबले पछि छुटे जस्तो देखिएको छ । त्यसैले, दलहरूले बुझाएको बन्द सूचीमाथि प्रश्न उठ्यो । यति हुँदाहुँदै पनि यो बहस र प्रश्नले समानुपातिक निर्वाचन प्रणालीको आवश्यकता र सान्दर्भिकता भने पुष्टि भएको छ । प्रत्यक्ष निर्वाचनले मात्रै सबैको प्रतिनिधित्व गर्दैन र अप्रत्यक्ष निर्वाचन पनि आवश्यक छ भन्ने कुरालाई जबर्जस्ती अचानक स्वीकारेको देखिन्छ ।

यसरी स्वीकारी रहँदा यसका नकारात्मक पक्षहरूलाई पनि स्वीकारेको देखिन्छ । एउटा फल थियो । त्यो फल मन पर्दैन तर मन नपरे पनि अहिले चाहिँ त्यो फल म खाइदिन्छु भनेर खाइदिएको हो । तर, पुछपाछ नगरी, नधोई त्यसको सफाइ नगरी खाइदिएको जस्तो देखियो । यसले भर्खरै गरिएको आन्दोलनको मर्ममा अलिकति ठेस पुग्यो कि ? पुराना पार्टीहरूले गल्ती गरेका गल्ती सुधार्न सक्ने, यो हो है ठीक बाटो भनेर देखाउने, गतिलो जवाफ दिने एउटा मौका गुम्यो कि ? यो असमानताको कारणले, गतल प्रतिनिधित्वको कारणले, असन्तुष्टिका स्वरहरु समाजमा दबिएर त बसिरहेका छैनन् ? त्यो भोलि अर्को आन्दोलनको रूपमा नउठ्ला ? यी सबै कारणले यो समानुपातिकको सूची ठीक तरिकाले आएको देखिँदैन । अर्को चाहिँ वर्गको कुरा पनि छ । देशकै ठूला व्यापारिक घरनाका व्यक्तिहरू समानुपातिक सूचीबाट छिर्न मिल्छ कि मिल्दैन ? व्यापारिक घरानाबाट अचानक राजनीतिमा छिर्ने भएपछि प्रमाण नभए पनि शंकाको घेरा पर्छ । व्यापारीले चाह्यो भने हिजो अप्रत्यक्ष रूपमा गरिरहेको नीति निर्माणमा ‘स्टेट क्याप्चरिङ’ भोलि प्रत्यक्ष रुपमा गर्न सक्ने डर पैदा भयो । केही घरानाको हिसाबले पनि चन्दा दिन सक्ने, नाम चलेका मान्छेहरू हुनेखानेका छोराछोरीहरूले सजिलो बाटोबाट सीमान्तकृतको भाग खोसेर फाइदा लिएको भन्ने हुन्छ ।

‘नेपो किड्स’ को कुरा त जेन्जी आन्दोलनको प्रमुख बुँदा नै थियो । त्यसको फेरि पुनरावृत्ति त भएन र ? जुन–जुन कुराले आन्दोलन उठेको थियो त्यसकै पुनरावृत्ति हुने जस्तो देखियो । अझ डरलाग्दो कुरा के भयो भने एउटा पार्टीमा अघिल्लो पुस्ताको विरासत हुँदाहुँदै त्यहाँ क्रस गर्न नसकेपछि अर्को पार्टीमा गएर आफ्नै बाउबाजेको पुरानो विरासत बेचेको देखियो । आफ्नो संरचनागत लाभ बेचेको छ, आफूसँग भएको सूचना बेचेको छ । राम्रो ठाउँमा पढेको, जागिर भएको, काठमाडौंमा जन्मेर हुर्किएको मौका पाएको, अनि अचानक अर्को राजनीतिक पार्टीमा गएर आफ्नो स्वार्थका लागि रोटी सेकेको छ । त्यसैले, अहिले कतै न कतै यो जेन्जी आन्दोलनले ल्याएको सत्ताको क्याप्चर पो भएको हो कि भन्ने डर लाग्छ ।

राजनीतिमा हिजो खोलेको पार्टी र दशौँ वर्षको पार्टीको एउटै हैसियत हुन्छ । ‘हामीलाई थाहा थिएन’ र गल्ती भयो भन्ने कुरा यहाँ चल्दैन । तर, राम्रोसँग अध्ययन नै नगरी हिजो जसरी चलेको थियो, त्यही रुपमा नयाँ पार्टीले अपनाउन खोजेको देखियो । यसले हिजोको समस्या वा असन्तुष्टी सम्बोधन हुँदैन । एउटा मान्छे विदेशमा थियो, आफ्नो व्यवस्था गरिसकेको थियो । फर्केर आएर यहाँ एउटा राजनीतिक पार्टीमा जोडियो, अनि समानुपातिकमा बस्यो। उसले सक्रिय जीवन विदेशमा बितायो । उसले कर उतै ति¥यो । उसको करले उतैको नाली, बाटो, बिजुली, पानी, बने । अनि फर्केर आएर यहाँ समानुपातिकमा बस्यो ।

यस्ता जेलिएका कुराहरूलाई अलि वैज्ञानिक तरिकाले अध्ययन नगरी, छोटो समयमा के अर्थ लाग्छ, लामो समयमा के असर पर्छ नहेरी पुराना पार्टीकै बाटो नयाँले समात्न हुँदैन । यसमा थोरै गम्भीर भएर काम गरेको भए पुरानाभन्दा नयाँहरूले ठीक गरे भन्ने सन्देश दिन सकिन्थ्यो । समाजले आश गरेको थियो, अब लामो ठाउँमा पुगिन्छ, टाढा पुगिन्छ । तर त्यो नहुँदा असन्तुष्टी झन् भयानक हुने रहेछ । अहिलेको योङ जेनेरेसन, प्रविधिमैत्री जेनेरेसन, यति छिटो आगोको लप्का जसरी मन नपरेका कुरालाई स्थापित गर्न सक्छ भने यो कुरा नयाँहरूले गम्भीर रूपमा सोच्नुपर्ने देखिन्छ ।
सुधारको प्रक्रियामा जान नयाँ दलहरूले यो संविधान र यो व्यवस्थालाई स्वीकार गर्‍यौं भन्नु पर्छ । प्रत्यक्ष निर्वाचित, प्रदेश खारेज आदि इत्यादि लफडा छोड्नु पर्छ । कन्फ्युजन नराखौँ । हामीभन्दा यङ, जेन्जी पछिको जेन अल्फालाई कन्फ्युजन नराखौँ । हामीले बेलायती शैलीको प्रतिनिधिमूलक लोकतन्त्र अभ्यास गरेका छौँ, त्यसमा हामी कन्फ्युज नहोऔं । यो समाजवाद भयो भनेर नडराऔं । बरू के सुधार्नु पर्छ भनेर छलफल गरौं ।

संविधानमा लेखिएको समाजवाद भनेको नर्थ कोरिया वा भेनेजुएलाको समाजवाद होइन । त्यो नेपाली समाजवाद हो । समाजवाद शब्दमा कसैलाई समस्या छ भने बरु शब्द फेरौं । तर, संविधानले भनेको समाजवाद भनेको स्थानीयतामा आधारित सामाजिक पुँजी निर्माण गर्ने समाजवाद हो । यहाँ कतिपयलाई समाजवाद आयो भने सरकारको सम्पूर्ण नियन्त्रण हुन्छ डर छ । त्यो होइन । संविधानमा समाजवाद भनेको प्रभावकारी सरकार हो । सानो तर चुस्त सरकार चाहिन्छ भनेको हो ।

आइडियाको हिसाबले हामी संसारकै बेस्ट डेमोक्रेसी हौँ । यसबाट आर्थिक वृद्धि र विकास कसरी निकाल्ने भन्ने चुनौति हाम्रो सामु छ । हामी इन्जिनियरिङ सोलुसन मात्रै खोज्ने होइन । गाउँठाउँ मिलाउनु पर्छ । बाटोघाटो, स्कुल, पानीपधेरो मिलाउनुपर्छ। मान्छे खुसी भएपछि शिक्षा र स्वास्थ्य बलियो हुन्छ । स्थानीय सरकार सबल भएपछि प्रदेश सरकार सबल हुन्छ। त्यसपछि संघीय सरकारले ‘बटम–अप’ एप्रोचमा काम गर्न सक्छ ।

अब यहाँ फेरि त्यही कुरामा फर्कौ-समानुपातिक प्रणाली किन ल्याइएको थियाे ? त्यसको फिलोसफी के हो ? समानुपातिक प्रणाली भनेको मूलतः प्रतिनिधित्वको समस्या समाधान गर्न ल्याइएको हो । समाजमा जो पछाडि पारिएका छन्, जसको आवाज संसदमा पुग्दैन, तिनको प्रतिनिधित्व गराउने उद्देश्य हो । तर जब हामी त्यसलाई प्रयोग गर्दा पनि शक्ति, पैसा, पहुँच भएका मान्छेलाई नै त्यहाँ राख्छौँ भने, त्यसको फिलोसफी उल्टो हुन्छ । त्यसो गर्दा प्रत्यक्ष निर्वाचनमा हारेका, डराएका, वा जोखिम लिन नचाहेका मान्छेलाई सेफ ल्यान्डिङ दिने संयन्त्र बन्छ । प्रणाली आफैँ गलत होइन, यसको प्रयोग गलत भएको हो ।

यही कुरा नयाँहरूले बुझ्नुपर्छ । पुरानाहरूले बुझेनन् भनेर आन्दोलन भयो। नयाँहरूले पनि बुझेनन् भने त्यो आन्दोलनको मर्ममाथि धोका हुन्छ । अर्को महत्वपूर्ण कुरा– समानुपातिकलाई हामीले कोटाको रूपमा मात्र बुझ्यौँ । तर, कोटा भनेको साधन हो, लक्ष्य होइन । लक्ष्य त राज्यको निर्णय प्रक्रियामा विविधता, समावेशिता र न्याय ल्याउने हो । जब कोटा आफैँ शक्ति कब्जा गर्ने साधन बन्छ, त्यसले उल्टो परिणाम दिन्छ । अब यहाँ सोच्नुपर्ने कुरा के हो भने समानुपातिकमा जाने मान्छेको प्रोफाइल कस्तो हुनुपर्छ ? के ऊ प्रत्यक्ष जित्न नसक्ने मान्छे मात्रै हुनुपर्छ ? कि ऊ समाजमा काम गरिरहेको तर चुनाव लड्न नसक्ने अवस्थामा रहेको मान्छे हुनुपर्छ ? जसले जीवनभर आन्दोलन, सामाजिक काम, बौद्धिक योगदान दिएको छ, तर पैसा, संगठन, पहुँच नभएकै कारण चुनाव जित्न सक्दैन भने त्यस्ता मान्छेका लागि यो प्रणाली हो ।

तर अहिले के देखियो भने चुनाव जित्न सक्ने, जित्ने सम्भावना भएको, अथवा पहिल्यै जितिसकेको मान्छे नै समानुपातिकमा बसे । यसले प्रत्यक्ष चुनावलाई कमजोर बनायो । जोखिम लिन नचाहने संस्कृति बढायो। राजनीति भनेको सुरक्षित खेल हो भन्ने सन्देश गयो । लोकतन्त्रमा हार्ने अधिकार पनि हुन्छ । हारेर पनि राजनीति गर्न सकिन्छ । प्रतिपक्षमा बसेर पनि नेतृत्व निर्माण गर्न सकिन्छ । जब सबैले जित्नैपर्छ भन्ने मानसिकता बनाउँछन्, हार लुकाउन समानुपातिक प्रयोग हुन्छ । अनि राजनीति नै विकृत हुन्छ । त्यसैले नयाँहरूले यहाँ साहस देखाउनु पर्छ । लोकप्रियता भएका अनुहारलाई प्रत्यक्ष लड्न पठाउनु पर्छ । समानुपातिकलाई वास्तविक प्रतिनिधित्वको माध्यम बनाउनु पर्छ । अहिले पनि समय गएको छैन । कानुनी रूपमा सम्भव छ भने लिस्ट सुधार गरौँ । सम्भव छैन भने भविष्यका लागि स्पष्ट मापदण्ड बनाऔं । नत्र भने–आजको जेन्जी मोमेन्ट भोलि निराशाको अर्को अध्याय नबनोस् ।
(त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागका पूर्व प्रमुख थापासँग गरिएको भिडियो संवादको सम्पादित अंश)

भिडियो:

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा, को कहाँ खटिए ?

काठमाडौं । नेपाली सेनाका तीन सहायक रथी उपरथीमा बढुवा भएका छन् । पाइलट सहायक रथी रामसुन्दर बोहोरा, सहायक रथी भुवन खत्री र प्राविधिक (इन्जिनियर) सहायक रथी धर्मेन्द्रकुमार झा उपरथीमा बढुवा भएका हुन् । उपरथीमा बढुवा भएका सहायक रथी भुवन खत्रीले स्टाफ कलेज शिवपुरीको जिम्मेवारी पाएका छन् । यसअघि ६ उपरथी सरुवा हुँदा स्टाफ कलेज रिक्त थियो ।

उपरथीमा बढुवा भएका तीनै जनालाई शुक्रबार प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । उनीहरुलाई पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको थियो । यस्तै महासेनानी विजितराज रेग्मी पनि सहायक रथीमा बढुवा भएका छन् । पहिल्यै बढुवा भएका रेग्मीले दर्ज्यानी चिन्ह लगाउन बाँकी थियो । ५ जना प्रमुख सेनानी महासेनानीमा बढुवा भएका छन् । उनीहरुलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

कतारले दियो १३ नेपालीलाई आममाफी

काठमाडौँ । कतारले आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा १३ नेपालीलाई आममाफी दिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार आज आफ्नो जेलमा रहेका १३ नेपाली कैदीहरूलाई आममाफी दिएको हो । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै कतारले आममाफीको लागि कतार सरकारलाई धन्यवाद दिएको छ ।

मन्त्रालयले उदारतापूर्वक प्रदान गरिएको आममाफीको लागि कतार सरकारप्रति आभार प्रकट गरेको छ । यसले नेपाल र कतारबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको अभिव्यक्तिको रूपमा रहेको बताउँदै मानवीय आधारमा दिइएको दयालु क्षमादानको उच्च कदर गरिएको जनाएको छ । यसअघि नेपालले हालै २ वटा हात्ती उपहार दिएको थियो । कतारमा हाल करिब ५ लाख नेपाली कार्यरत छन् । गत वर्ष मात्रै एक लाख ४० हजार ७९२ जना नेपालीहरू वैदेशिक रोजगारीका कतार गएका थिए ।

पार्टी नफुटोस् भन्ने चाहन्छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसमा चुनावअघि नै महाधिवेशनको पक्षमा खुलेका संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई भेटेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गरेर विशेष महाधिवेशनको आह्वानको तयारी गरेपछि संस्थापन पक्षका नेताहरूले देउवालाई भेटेका हुन् । आज बिहान महाराजगञ्ज पुगेका नेताहरूसँग देउवाले आफू पार्टी नफुटोस् भन्नेमा सचेत रहेको बताएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।

ती नेताले सुनाए, ‘हामीले पार्टी अप्ठ्यारो अवस्थामा छ । मिलाएर अघि बढ्नको लागि भूमिका खेल्नुस् भनेर ध्यानाकर्षण गरायौँ । उहाँले आफू पार्टी विभाजन नहोस् भन्ने चाहनामा रहेको बताउनु भयो ।’ यी नेताहरूले आजै महामन्त्रीद्वय थापा र शर्मासँग पनि भेट्ने तयारी गरेका छन् । भेटमा संलग्न केन्द्रीय सदस्य डिला संग्रौलाले सभापति देउवाले आफू पार्टी विभाजन होस् भन्ने पक्षमा नरहेको बताएको जानकारी दिइन् । ‘हामीले विशेष महाधिवेशन रोक्नु पर्छ । नत्र पार्टी विभाजनसम्म जान सक्छ भनेर सभापतिजीको ध्यानाकर्षण गराएका छौँ,’ उनले भनिन्, ‘उहाँले पनि विभाजनको बाटो ठीक होइन भन्ने धारणा राख्नुभयो । हामीले नियमित महाधिवेशनले यो विवादको समाधान गर्न सक्छ भनेर सुझाव दिएका छौं ।’

विशेष महाधिवेशन पक्षधरले भने–अब विशेष महाधिवेशनको विकल्प रहेन, बोलाउनै पर्छ

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग पुनः तीव्र बनेको छ । विशेष महाधिवेशन पक्षधर नेताहरूले अब अरू कुनै विकल्प बाँकी नरहेकाले पार्टीले अनिवार्य रूपमा विशेष महाधिवेशन बोलाउनुपर्ने निष्कर्ष सार्वजनिक गरेका छन् । शुक्रबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता सुवास पोखरेलले पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्न पार्टी केन्द्रको जिम्मेवारी रहेको बताए । उनले यो माग कसैको जित–हारका रूपमा नभई पार्टीको आन्तरिक लोकतन्त्र मजबुत बनाउने अवसरका रूपमा बुझ्न नेतृत्वलाई आग्रह गरे ।

पोखरेलले भने, ‘हामीलाई विश्वास छ, केन्द्रले पुस २७–२८ मा विशेष महाधिवेशन गर्ने जिम्मेवारी पूरा गर्नेछ । यो माग पार्टी एकता कायम राख्दै जनताप्रति जवाफदेही बन्ने ऐतिहासिक अवसर हो । विशेष महाधिवेशनमार्फत कांग्रेसलाई नयाँ ऊर्जा, स्पष्ट दिशा र एकतासहित अघि बढाउन सकिन्छ ।’
उनका अनुसार असोज २९ गते ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका थिए । त्यसपछि नियमित महाधिवेशन गर्ने आश्वासन आएपछि केही समय माग स्थगित भए पनि कार्यतालिका सार्वजनिक भएपछि फेरि विषय सतहमा आएको हो । बिहीबारदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समेत विशेष महाधिवेशनको पक्षमा सक्रिय देखिएका छन् ।

पोखरेलले पार्टीले घोषित समयमै महाधिवेशन नगरी मिति सार्ने सुविधा नपाउने स्पष्ट चेतावनी दिँदै भने, ‘हामीले पहिल्यै भनेका थियौँ-घोषित समयमा महाधिवेशन नगरे विशेष महाधिवेशनको माग स्वतः जीवित रहन्छ । असोज २९ मा दर्ता भएको माग कार्यान्वयन गर्नु पार्टीको बाध्यकारी कर्तव्य हो।’ उनले विशेष महाधिवेशन कुनै ‘विकल्प’ वा ‘छनोट’ नभई महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार भएको दाबी गरे । ‘लोकतान्त्रिक पार्टी भएर पनि यदि विधानको बाध्यकारी व्यवस्था नमान्ने हो भने संविधान र विधिको शासनको कुरा गरेर जनतामाझ जाने नैतिक आधार कसरी रहन्छ ?’ उनले प्रश्न गरे ।

पत्रकार सम्मेलनमै विशेष महाधिवेशनको मागलाई पार्टी विभाजनको प्रयास भनेर आलोचना गरिँदै आएको विषयमा पनि नेताहरूले स्पष्ट जवाफ दिएका छन् । नेता देवराज चालिसेले विशेष महाधिवेशनले पार्टी फुट्ने होइन, बरु एकता बलियो बनाउने बताए । ‘विधानअनुसार महाधिवेशन माग गर्दा कसरी पार्टी विभाजन हुन्छ ?’ चालिसेले प्रश्न गरे । उनले सभापति शेरबहादुर देउवा आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा रहेको उल्लेख गर्दै यस्तो अवस्थामा उनले पार्टीलाई क्षतविक्षत बनाउने कल्पना गर्न नसकिने बताए ।

‘जुन पार्टीले नेताहरूलाई यो हैसियत दियो, त्यही पार्टीलाई दुर्घटनामा लैजान्छन् भन्ने सोच नै गलत हो’, उनले भने, ‘सबै पक्षले विन–विन गर्ने बाटो खोज्नुपर्छ। एकता बहसबाट आउँछ, तर त्यो सकारात्मक हुनुपर्छ ।’ ५४.८८ प्रतिशत महाधिवेशन प्रतिनिधिको समर्थन हुँदा विभाजनको प्रश्न उठ्नु नै अस्वाभाविक भएको चालिसेको तर्क छ । ‘हामीले कसैलाई बाध्य बनाएका होइनौँ, विधानले दिएको अधिकार प्रयोग गरेका हौँ’, उनले भने । अबको कदम के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘सडकमा हुलहुज्जत गर्ने होइन । विधानले यही बाटो दिएको छ भने त्यसैअनुसार अघि बढ्ने हो ।’ कांग्रेसभित्र विशेष महाधिवेशनको बहस चर्कँदै जाँदा अब पार्टी नेतृत्वले यसलाई कसरी सम्बोधन गर्छ भन्ने विषयले राजनीतिक वृत्तको ध्यान तानेको छ ।

 

आयोगले फागुन २१ का लागि के-के तयारी गर्‍यो, के-के बाँकी छ ? (भिडियाेसहित)

७५ प्रतिशत तयारी सकिएको आयोगको दाबी

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि अन्तिम चरणको तयारी तीव्र रूपमा अघि बढाइरहेको छ । सबै राजनीतिक दलहरूले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेपछि आयोगले छपाइ, मतदाता शिक्षा, मतदाता नामावली अद्यावधिक, जनशक्ति व्यवस्थापन र निर्वाचन सामग्री तयारीजस्ता कार्यहरूलाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।

नेपालवन एचडीसँगको अन्तर्वार्तामा निर्वाचन आयोगका सहायक प्रवक्ता कुल बहादुर जी.सी ले निर्वाचन पूर्व तयारीको करिब ७० देखि ७५ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए । ‘अब केही लजिस्टिक र व्यवस्थापनसँग सम्बन्धित काम बाँकी छन्, ती पनि छिट्टै सकिन्छ,’  उनले भने।

उनका अनुसार निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार नै सम्पूर्ण प्रक्रिया अगाडि बढिरहेको छ । कानुनी सुधार, जनशक्ति व्यवस्थापन, मतदाता नामावली संकलन, निर्वाचन अधिकृतको अभिमुखीकरण, निर्वाचन सामग्री तयारी लगायतका कार्यहरू समानान्तर रूपमा भइरहेको उनले बताए ।

समानुपातिक बन्दसूचीको छानबिन र अन्तिम टुंगो

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने सबै राजनीतिक दलहरूले बन्दसूची बुझाइसकेका छन् । जी.सी.का अनुसार आयोगले ती सूचीहरूमा आवश्यक छानबिन गरिरहेको छ । ‘ दलहरुले बुझाएको सूचीमा कुनै प्राविधिक त्रुटि भेटिएमा सम्बन्धित दललाई जानकारी गराइन्छ र सुधारका लागि समय दिइन्छ,’ उनले भने ‘दलहरुले बुझाएको सूचीको नाम भने परिवर्तन हुदैन, कुनै अन्य किसिमको तृती भेटिएमा हामी सच्याउछौ।’ निर्वाचन चिन्हको टुंगो लगाउने काम पनि अन्तिम चरणमा पुगेको आयोगको भनाइ छ । केही दिनभित्रै निर्वाचन चिन्ह एकिन भएपछि समानुपातिक तर्फका मतपत्र छपाइ सुरु गरिने तयारी छ । प्रत्यक्ष तर्फ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मात्र मतपत्र छापिनेछ ।

मतदाता शिक्षा अभियानलाई प्राथमिकता
नेपालले विगत लामो समयदेखि आवधिक निर्वाचनको अभ्यास गरिरहेको छ । प्रत्येक निर्वाचनमा आयोगले चुनावमा हुने मत बदरलाई घटाउन मतदाता शिक्षा अभियान पनि संचालन गर्दै आईरहेको छ । तर बदर हुने मतको संख्या कम भने भईरहेको छैन ।  यसपल्टको निर्वाचनमा पनि मत बदर हुने संख्या घटाउने उद्देश्यले निर्वाचन आयोगले मतदाता शिक्षा अभियानलाई विशेष महत्व दिएको छ । आयोग अन्तर्गतको छुट्टै निर्वाचन शिक्षा शाखाले देशव्यापी रूपमा मतदाता शिक्षाका कार्यक्रम सञ्चालन गरिरहेको सहायक प्रवक्ता जी.सी.ले जानकारी दिए ।

‘ मतदाता शिक्षाको मुख्य लक्ष्य भनेको सकेसम्म सदर मतको प्रतिशत बढाउनु हो,’ उनले भने, ‘नमूना मतपत्रसहितको मतदाता शिक्षा कार्यक्रम बजेट र स्रोतको उपलब्धताअनुसार केन्द्रदेखि जिल्ला तहसम्म सञ्चालन हुन्छ।’ आयोगले हरेकपल्ट जस्तै यसपल्ट पनि स्थानीय तह, विद्यालय र शिक्षकहरूसँग समन्वय गरेर मतदाता शिक्षाका कार्यक्रम सञ्चालन गर्ने परम्परा यसपटक पनि निरन्तर रहने आयोगको तयारी छ । बजेटको आकारअनुसार कार्यक्रमको स्वरूप निर्धारण गरिने उनले स्पष्ट पारे ।

मतपत्र छपाइ र निर्वाचन सामग्री तयारी

मतपत्र छपाइको काम समानुपातिक र प्रत्यक्ष प्रणालीअनुसार फरक-फरक चरणमा हुने आयोगले जनाएको छ । समानुपातिक तर्फ दलहरूको संख्या र निर्वाचन चिन्ह एकिन भएपछि मतपत्र छपाइ सुरु हुनेछ भने प्रत्यक्षतर्फ उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मात्र छपाइ गरिनेछ । यसपटक मतपत्र जनक शिक्षा सामाग्री केन्द्रले छाप्ने प्रवक्ता जी.सी. ले बताए ।  निर्वाचन सामग्रीका सन्दर्भमा आयोगले ३७ प्रकारका लजिष्टिक सामग्री जिल्ला स्तरमै खरिद गर्न अख्तियारी दिइसकेको छ । ती सामग्रीका विस्तृत विवरण र बजेटसमेत सम्बन्धित जिल्लामा पठाइसकिएको छ । केन्द्रबाट खरिद गर्नुपर्ने ८ प्रकारका सामग्रीको प्रक्रिया पनि अघि बढिसकेको आयोगको भनाइ छ ।

मतपेटिका र मतदान केन्द्रको अवस्था

मतपेटिकाको अभाव नहुने गरी व्यवस्थापन गरिएको आयोगले जनाएको छ । ‘अधिकांश जिल्लामा अघिल्ला निर्वाचनमा प्रयोग भएका मतपेटिकाहरू सुरक्षित रूपमा राखिएको छ’, उनले भने, ’अपुग भएका स्थानमा प्रदेश वा केन्द्रबाट पठाइने व्यवस्था मिलाइएको छ ।’ मतदान स्थलको सन्दर्भमा यसपटक करिब ७५ वटा नयाँ मतदान केन्द्र थप गरिएको जानकारी पनि आयोगले दिएको छ। केही पुराना मतदान केन्द्रहरु हेरफेर गरिएको छ भने आवश्यकताअनुसार देशैभरी नयाँ केन्द्र थप गरिएको हो ।

निर्वाचन सुरक्षा योजना तयार

निर्वाचन सुरक्षाका विषयमा आयोग, गृह मन्त्रालय, सुरक्षा निकाय र सम्बन्धित निकायबीच नियमित समन्वय र सहजीकरण भइरहेको छ । हरेक जिल्लामा निर्वाचन सुरक्षा योजना तयार गरिएको र मतदान केन्द्रलाई संवेदनशीलता अनुसार वर्गीकरण गरिएको सहायक प्रवक्ता जी.सी ले बताए । ‘नेपाल सरकारले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिबद्धता जनाएको छ,’ उनले भने, ‘त्यसैले सुरक्षाका विषयमा आयोग चिन्तित हुनुपर्ने अवस्था छैन ।’

जनशक्ति व्यवस्थापन

निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापन जिल्ला स्तरमै हुने व्यवस्था छ । प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनशक्ति व्यवस्थापन समिति गठन गरिएको हुन्छ । प्रमुख जिल्ला अधिकारीले नै  निर्वाचन अधिकृतसँग समन्वय गरेर आवश्यक कर्मचारी परिचालन गर्छ । ‘ मतदान केन्द्रमा खटिने कर्मचारीको अभाव हुँदैन।  यसपटक पनि निर्वाचन सहजता पुर्वक सम्पन्न गर्न जनशक्ति व्यवस्थापनमा निर्वाचन आयोगले कुनै कसुर बाँकि राख्दैन’, जी.सीले भने, ‘यसपटक पनि पर्याप्त जनशक्ति उपलब्ध हुने हाम्रो विश्वास छ ।’ 

पर्यवेक्षकहरूको सहभागिता

निर्वाचन आयोगले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई पनि निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ । हालसम्म चारवटा अन्तर्राष्ट्रिय संस्था र करिब ४० वटा राष्ट्रिय संस्थाले आयोगबाट निर्वाचन पर्यवेक्षणको अनुमति पाइसकेका छन् । सबै पर्यवेक्षकहरूले तोकिएको मापदण्ड र आचारसंहिता पालना गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ । ‘पर्यवेक्षकको लागि निर्वाचन आयोगले सुचना आह्वान गरेको थियो। त्यसमा चारवटा अन्तराष्ट्रिय र ४० वटा राष्ट्रिय संस्था पर्यवेक्षकको रुपमा आयोगको छनोटमा परेका छन्,’ प्रवक्ता जी.सीले बताए । 

निर्वाचन बजेट र सरकारको प्रतिबद्धता

निर्वाचन सम्पन्न गर्न सरकारको तर्फबाट कुनै पनि किसिमको कमि नरहने सरकारले प्रतिवद्वता जनाएको आयोगले जनाएको छ । निर्वाचन खर्चका विषयमा प्रारम्भमा चुनौती देखिए पनि नेपाल सरकारले आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको आयोगको भनाइ छ । बजेट दुई चरणमा प्राप्त भइसकेको र आवश्यक परे थप बजेट पनि उपलब्ध गराइने विश्वास आयोगले व्यक्त गरेको छ।

निर्वाचन सुरक्षा, जनशक्ति व्यवस्थापन, सामाग्री खरीद, सामाग्री छपाई लगायतका कामहरुको लागि थप बजेट आवश्यक परेको अवस्थामा अर्थ मन्त्रालय र सम्बन्धित निकायबीच समन्वय भइरहेको जानकारी पनि आयोगले दिएको छ ।

आयोगको विश्वास : निर्वाचन समयमै र निष्पक्ष रूपमा सम्पन्न हुन्छ

सहायक प्रवक्ता कुल बहादुर जी.सी.का अनुसार निर्वाचन आयोग सुरुदेखि नै निर्वाचन समयमै सम्पन्न गर्न दृढ रहेको छ । ‘निर्वाचन आयोग रेफ्री हो, खेलाडी राजनीतिक दल हुन्।  हामीले मानदारीताका साथ रेफ्रीको काम गर्छौँ ,’ उनले भने, ‘हाम्रो जिम्मेवारी भनेको स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउनु हो।’ उनले मिडिया, राजनीतिक दल र सम्पूर्ण सरोकारवालालाई निर्वाचनको वातावरण सकारात्मक बनाउन सहयोग गर्न आग्रहसमेत गरे। ‘निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो,’ उनले भने, ‘सबैको सहकार्यबाट मात्र सफल निर्वाचन सम्भव हुन्छ।’

समानुपातिक बन्दसूचीको ‘मनपरी’ को विरोधमा प्रदर्शन {तस्वीरहरु}

काठमाडौं । संविधानले लिपिबद्ध गरेको समानुपातिक समावेशी अधिकारलाई राजनीतिक दाउपेचको विषय बनाएर कमजोर पार्न खोजिएको भन्दै शुक्रबार राजधानीका सडकमा महिलाहरूले खबरदारी गरेका छन् । समानुपातिक उम्मेदवार छनोटमा नेता र राजनीतिक दलहरूले मनपरी गरेको विरोधमा महिला अधिकारकर्मीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

‘महिला अधिकारका लागि दबाब अभियान’ अन्तर्गत माइतीघर मण्डलाबाट सुरु भएको विरोध र्‍याली बबरमहल पुगेर कोणसभामा परिणत भएको थियो । राजनीतिक वृत्तमा देखिएका कतिपय अभ्यासले समावेशीताको मर्ममाथि प्रहार गर्न खोजेको निष्कर्षसहित विभिन्न क्षेत्र र पृष्ठभूमिका महिलाहरू एकताबद्ध भई सडकमा ओर्लिएका थिए ।

उनीहरूले समानता, सामाजिक न्याय र समावेशीताको ग्यारेन्टी नभएसम्म लोकतन्त्र बलियो नहुने जिकिर गरे । साथै, समाजमा व्याप्त दण्डहीनताको अन्त्य गर्दै विधिको शासन कायम गर्नुपर्ने मागसहितका नाराहरूले बबरमहल क्षेत्र गुञ्जायमान बनेको थियो । सहभागीहरूले हात–हातमा बोकेका प्लेकार्डमा संविधानप्रदत्त अधिकारको रक्षा र कार्यान्वयनको पक्षमा जोडदार आवाज उठाइएको देखिन्थ्यो ।

तस्वीरहरु

विद्यार्थी लिएर वनभोजमा हिँडेको बसको ठक्करबाट दुईको मृत्यु

गुल्मी । विद्यार्थी बोकेर वनभोज (पिकनिक) हिँडेको बसले मोटरसाइकललाई ठक्कर दिँदा गुल्मीको मालिका गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ । पिकनिकका लागि हिँडेको लुम्बिनी प्रदेश ००ख ०३५५ नम्बरको बसले बसले लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मालिका– ६ का ३६ वर्षका बसन्त अर्याल र ६० वर्षका मनकला अर्यालको मृत्यु भएको हो ।

बसले मालिका–७ अर्जे राम्चेको ओरालेमा विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको गुल्मी प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । दुर्घटनामा मोटरसाइकलमा सवार ५ वर्षको बच्चा अनुभव गिरी र पैदल यात्री मालिका ६ की स्थानीय शिक्षिका लिला अर्याल घाइते भएका छन् । बस स्थानीय सिद्ध इङ्लिस बोर्डिङ स्कूलका विद्यार्थीलाई वनभोज लिएर जान हिँडेको थियो । दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

सफारी चालकमाथि गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपीका खाली गरियो

सुनसरी । सुनसरीको लौकही क्षेत्रमा भएको गोलीकाण्डमा संलग्न सशस्त्र प्रहरी बल (एपीएफ) का एक हवल्दारलाई प्रहरीले पक्राउ गरेको छ । भारतीय बजारबाट सामान लिएर नेपाल फर्किंदै गरेका सफारी चालक विजय साहमाथि गोली प्रहार भई घटनास्थलमै मृत्यु भएपछि उक्त घटना व्यापक चासोको विषय बनेको छ । घटनाको गम्भीरता हेर्दै प्रशासनले तत्काल छानबिन प्रक्रिया अघि बढाएको छ । हिजै सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) घनश्याम न्यौपानेको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । समितिमा प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्का र राष्ट्रिय अनुसन्धान विभागका एक अधिकृत सदस्य रहेका छन् ।

प्रहरीका अनुसार गोली चलाउने एपीएफ हवल्दारलाई हिजै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ । सुनसरी प्रहरी प्रवक्ता समेत रहेका डीएसपी खड्काले घटनाको सबै पाटो केलाएर निष्पक्ष अनुसन्धान गरिने जानकारी दिए । घटनापछि सुरक्षा व्यवस्थापन र अनुसन्धानलाई सहज बनाउन लौकहीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत सबै सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ । यस कदमलाई घटनाप्रति प्रशासनले देखाएको गम्भीरताको संकेतका रूपमा लिइएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव घिमिरेले छानबिन समितिलाई सात दिनको समयसीमा दिइएको जानकारी दिएका छन् । उनका अनुसार समितिको प्रतिवेदन प्राप्त भएपछि दोषीमाथि आवश्यक कानुनी कारबाही र थप प्रशासनिक कदम चालिने छ । यस घटनाले सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीको भूमिका, चेकजाँचको प्रक्रिया र नागरिकको सुरक्षासम्बन्धी प्रश्नहरू उठाएको छ । स्थानीयवासीले निष्पक्ष छानबिन र पीडित परिवारलाई न्याय दिलाउन प्रशासनसँग माग गरेका छन् ।

कांग्रेस कार्यसम्पादन समिति बैठकअघि देउवाले शीर्ष नेताहरुलाई बोलाए छलफलमा

काठमाडौं । नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विषयले तीव्र विवादको रूप लिँदै गएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गर्दै विशेष महाधिवेशनको प्रस्ताव अघि सारेपछि पार्टीभित्र राजनीतिक तरंग पैदा भएको छ ।
विशेष महाधिवेशन भए पार्टी विभाजनको जोखिम बढ्ने भन्दै कार्यकारी भूमिकाबाट पछि हटिसकेका सभापति शेरबहादुर देउवा पछिल्ला दिनहरूमा भने शीर्ष नेताहरूसँग लगातार संवादमा जुटिरहेका छन् । विवाद चर्किँदै गएपछि उनी आफै पहलमा उत्रिएका छन् ।

बिहीबार साँझ महामन्त्रीद्वयले संयुक्त विज्ञप्ति सार्वजनिक गरे लगत्तै देउवाले उपसभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखकसहितका प्रभावशाली नेताहरूसँग छलफल गरेका थिए । साथै उनले महामन्त्री थापा र शर्मालाई पनि आफ्नै निवासमा बोलाएर संवाद गर्न चाहेका थिए । तर विशेष महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन तयारीको काममा जुट्न गगन थापा काभ्रेको धुलिखेलतर्फ गएकाले त्यो भेटघाट हुन सकेन ।

यसैबीच, कांग्रेसले आज दिउँसो ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठकअघि सभापति देउवापक्षीय, अर्थात् संस्थापन पक्षका नेताहरूले छुट्टै रणनीतिक छलफल गर्ने तयारी गरेका छन् । कार्यसम्पादन समितिमा रहेका संस्थापन पक्षका नेताहरू दिउँसो १२ बजे सानेपास्थित सिद्धार्थ फुडल्यान्डमा भेला भएर साझा धारणा बनाउने भएका हुन् । छलफलपछि उनीहरू औपचारिक बैठकमा सहभागी हुने बताइएको छ ।

अर्कोतर्फ, विशेष महाधिवेशनका पक्षमा उभिएका महामन्त्री गगन थापाले पनि कार्यसम्पादन समिति बैठकअघि आफ्ना समर्थकहरूसँग अलग्गै छलफल गर्ने तयारी गरेका छन् । त्यसका लागि उनी आज बिहानै धुलिखेलबाट काठमाडौं फर्किसकेका छन् । पार्टीभित्र फरक–फरक धारणा सतहमा आउँदै जाँदा आजको केन्द्रीय कार्यसम्पादन समिति बैठकलाई कांग्रेसको आगामी राजनीतिक दिशानिर्देश तय गर्ने निर्णायक मोडका रूपमा हेरिएको छ ।

विद्युत प्राधिकरणले माग्यो २६६ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरेको छ । प्राधिकरणले शुक्रबार विज्ञापन प्रकाशन गर्दै दशौंदेखि पाँचौं तहका विभिन्न पदहरूमा कर्मचारी माग गरेको हो ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले माघ ८ गतेसम्म दरखास्त दिन सक्ने जनाइएको छ । विद्युत प्राधिकरणको वेबसाइटमार्फत दरखास्त फाराम भर्न सक्ने छन् ।

हेर्नुस् विज्ञापन

निर्वाचन र सरकार परिवर्तनले मात्र मुलुकको विद्यमान समस्या समाधान हुँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकमा देखिएका गहिरा राजनीतिक र शासकीय समस्याको समाधान केवल निर्वाचन र सरकार परिवर्तनले मात्र सम्भव नहुने स्पष्ट पारेका छन् । उनले नेपालको समस्या सतही नभई संरचनागत भएकाले दीर्घकालीन सुधारका लागि निर्वाचनअघि नै व्यापक राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

अंग्रेजी नयाँ वर्ष र आगामी निर्वाचनको सन्दर्भमा सोमबार राति सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत महामन्त्री थापाले वर्तमान राजनीतिक प्रणालीभित्र रहेका कमजोरीले भ्रष्टाचारलाई बढावा दिएको र सुशासन स्थापना गर्न कठिन बनाएको स्वीकार गरे । उनका अनुसार सानातिना प्रशासनिक वा कार्यकारी निर्णयले मात्र अहिलेको जटिल अवस्थाबाट देशलाई बाहिर निकाल्न सकिँदैन ।

थापाले विशेष गरी समानुपातिक निर्वाचन प्रणालीको कार्यान्वयनप्रति गम्भीर प्रश्न उठाए । समावेशिताका लागि ल्याइएको यो प्रणाली दलका शीर्ष नेताहरूको ‘खल्तीबाट नाम निकाल्ने’ अभ्यासका कारण बदनाम बनेको उनको भनाइ थियो । नयाँ र पुराना सबै दलमा यो प्रवृत्ति देखिएको उल्लेख गर्दै उनले एकपटक सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई पुनः समानुपातिक सूचीमा राख्न नपाइने गरी संवैधानिक व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारे ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायहरूको स्वायत्ततामाथि पनि शंका व्यक्त गरेका छन् । संवैधानिक परिषद्बाट हुने नियुक्तिमा राजनीतिक भागबण्डा हावी हुँदा ती निकायहरू स्वतन्त्र रूपमा काम गर्न नसकेको थापाको ठहर छ । नियुक्त भएका व्यक्तिहरूले आफूलाई सिफारिस गर्ने राजनीतिक शक्तिप्रति नै निष्ठा देखाउने प्रवृत्तिले भ्रष्टाचार नियन्त्रण कमजोर बनेको उनको भनाइ थियो । यस सन्दर्भमा उनले दक्षिण अफ्रिकाजस्ता देशहरूको अभ्यास उदाहरण दिँदै सार्वजनिक सुनुवाइ र पारदर्शी छनोट प्रक्रियामार्फत नियुक्ति गर्नुपर्नेमा जोड दिए ।

राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रबारे बोल्दै महामन्त्री थापाले एउटै व्यक्ति पटक–पटक पार्टीको नेतृत्वमा रहिरहने अवस्थाले दलहरू कमजोर बनेको बताए । यस्तो प्रवृत्तिलाई रोक्न संविधान वा कानुनमार्फत नेतृत्वको अवधि र सीमाबारे स्पष्ट व्यवस्था गर्नुपर्ने उनको धारणा थियो ।

यी सबै सुधारका काम निर्वाचनपछि बन्ने संसद्ले मात्र गर्न नसक्ने भन्दै उनले निर्वाचनअघि नै सबै दलहरूबीच न्यूनतम सुधार एजेण्डामा सहमति जुटाउनुपर्ने आवश्यकता औंल्याए । वि.सं. २०६२÷६३ को जनआन्दोलनअघि नागरिक समाजको पहलमा दलहरूबीच भएको ऐतिहासिक सहमतिलाई स्मरण गर्दै थापाले अहिले पनि त्यस्तै किसिमको ‘राष्ट्रिय संवाद’ आवश्यक रहेको बताए ।

उनले नागरिक समाज, बुद्धिजीवी र विशेषगरी युवा पुस्तालाई अगाडि बढेर राजनीतिक दलहरूलाई एउटै टेबुलमा बसाल्न र सुधारका मुद्दामा प्रतिबद्ध गराउन आह्वान गरे । ‘निर्वाचन त २०८४ मा पनि हुन्थ्यो, तर सुधारका लागि अहिलेको समय अत्यन्तै महत्वपूर्ण छ’, थापाले भने ।

उनका अनुसार निर्वाचनपछि जुनसुकै दलको सरकार बने पनि संविधान र कानुन संशोधनमार्फत भ्रष्टाचार नियन्त्रण र सुशासनका क्षेत्रमा ठोस काम गर्न सकिने वातावरण चुनावअघि नै तयार हुनुपर्छ । त्यसो गर्न सके मात्र परिवर्तनका लागि बलिदान दिनेहरूको सपना पूरा हुने र आम नागरिकमा राज्यप्रतिको विश्वास पुनःस्थापित हुने थापाको विश्वास छ ।

 

नयाँ बर्षको पार्टी चलिरहेको बारमा आगलागी : कम्तीमा ४० जनाको मृत्यु

स्विट्जरल्याण्ड । नयाँ वर्षको पूर्व सन्ध्यामा स्विट्जरल्याण्डको एक बारमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । आगलागीमा सय बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारअनुसार घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ ।

मृतक र घाइतेहरूको राष्ट्रियताबारे कुनै स्पष्ट जानकारी जारी गरिएको छैन । अधिकारीहरूले घाइतेमध्ये ६० जनाको सायन अस्पतालमा उपचार भइरहेको बताएका छन् भने अन्यको अन्य अस्पतालहरूमा उपचार भइरहेको छ । दक्षिणपश्चिम स्विट्जरल्याण्डको क्रान्स–मोन्टानामा रहेको ले कन्स्टेलेसन बारमा यो घटना भएको थियो, जहाँ मानिसहरू उत्सव मनाउन भेला भएका थिए ।

स्विस राष्ट्रपतिले आगलागीलाई देशले अहिलेसम्म सामना गरेको सबैभन्दा ठूलो त्रासदीमध्ये एक भनेका छन् । आगलागीको कारण अझै पुष्टि भएको छैन । यद्यपि, केही प्रत्यक्षदर्शीहरूले शैम्पेनका बोतलहरूमा रहेको मैनबत्तीले छतमा आगो लागेको अनुमान गरेका छन् । फोरेन्सिक टोलीहरूले घटनास्थलबाट प्रमाण सङ्कलन गरिरहेका छन् र त्यहाँ उपस्थित व्यक्तिहरूसँग अन्तर्वार्ता लिइरहेका छन् ।

प्रहरी अधिकारीहरूले अनुसन्धानले सबै सम्भावित पक्षहरूलाई ध्यानमा राखेको बताएका छन् । स्विस आल्प्समा अवस्थित प्रमुख स्की रिसोर्ट सहर क्रान्स–मोन्टाना जाडो मौसम र नयाँ वर्षको पूर्व सन्ध्यामा पर्यटकहरूले भरिएको हुन्छ । लगभग १५ हजार जनसंख्या भएको यस शहरको अर्थतन्त्र धेरै हदसम्म पर्यटनमा निर्भर छ । घटनाले स्थानीय अधिकारीहरू र पर्यटन उद्योगमा संलग्न व्यक्तिहरूमा चिन्ता उत्पन्न गरेको छ ।

महाधिवेशन विवादका बीच आज कांग्रेस कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर मतभेद तीव्र बन्दै गएको छ । यही पृष्ठभूमिमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ । दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरिएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

सभापति शेरबहादुर देउवाले आफ्ना निकटस्थ नेताहरूसँग परामर्श गरेपछि बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ । आजको बैठकलाई पार्टीको आगामी दिशा र महाधिवेशनसम्बन्धी निर्णयका हिसाबले महत्वपूर्ण मानिएको छ ।

यसअघि बिहीबार सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग गर्ने भनिएको छलफल अन्तिम समयमा स्थगित गरेका थिए । साँझ ५ बजेका लागि तय गरिएको छलफल नहुने जानकारी देउवाले अन्तिम समयमा महामन्त्रीद्वयलाई गराएका थिए ।

पार्टी मुख्यसचिव पौडेलका अनुसार सभापति देउवाले आज महामन्त्रीद्वयसँग अलग्गै छलफल गर्ने तयारी गरेका छन् । ‘आज अनुकूल समयमा सभापति ज्यूले महामन्त्री ज्यूहरूलाई बोलाएर छलफल गर्नु हुन्छ’, पौडेलले भने । महामन्त्रीद्वयले विशेष महाधिवेशनको माग गर्दै भृकुटीमण्डपमा हल बुक गरेपछि देउवाले छलफलको पहल गरेका हुन् ।

निर्धारित समयमै नियमित महाधिवेशन हुन नसक्ने अवस्था देखिएपछि बिहीबार महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन स्थगित भएको सार्वजनिक घोषणा गरेका थिए । उनीहरूले अब विशेष महाधिवेशन नै आवश्यक भएको तर्क गर्दै आएका छन् । यसका लागि आवश्यक तयारीसमेत अगाडि बढाइएको छ । महामन्त्री थापा विशेष महाधिवेशनका लागि आवश्यक दस्तावेज तयारी गर्न केही दिन धुलिखेल बस्ने तयारीमा छन् ।

उता सभापति देउवा र बहुमत केन्द्रीय नेतृत्व भने संस्थापन पक्षमै उभिएको छ । संस्थापन पक्षले कुनै पनि हालतमा नियमित महाधिवेशन नै गर्नुपर्ने अडान दोहोर्‍याउँदै आएको छ । पुस १६ गतेदेखि वडास्तरबाट सुरु गर्ने भनिएको नियमित अधिवेशन हुन नसके पनि, त्यसलाई स्वीकार गर्दै अर्को उपयुक्त मिति तोकेर प्रक्रिया अघि बढाउनु पर्ने उनीहरूको धारणा छ ।

महाधिवेशनको स्वरूप र समयबारे नेतृत्व तहमा देखिएको यो मतभेदले कांग्रेसभित्र आन्तरिक राजनीतिक गर्मिएको छ । आज बस्ने कार्यसम्पादन समिति बैठक र सभापति–महामन्त्रीबीचको छलफलले पार्टीको आगामी बाटो के हुने भन्ने संकेत गर्ने अपेक्षा गरिएको छ ।

वैकल्पिक राजनीतिका ‘ग्राउन्ड लिडर’ समुन्द्र केसी रास्वपाबाट ललितपुर–३ मा ‌आकांक्षी

ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टी ‍‍‍‌‌‌‌‌‌‌‌(रास्वपा) बाट फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर-३ मा समुन्द्र केसीले उम्मेदवारी दिने बताएका छन् ।

सूचना प्रविधिमा स्‍नातक गरेका केसीले त्रिभुवन विश्‍वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा राजनीतिशास्त्रमा एमफील गरिरहेका छन् ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाटै राजनीतिशास्त्रमा एम‍ए गरेका केसी सार्वजनिक प्रशासनमा पनि एमए गरिरहेका छन् । ललितपुर, धापाखेलका स्थायी बासिन्दा उनी पेशाले शिक्षक हुन्। विवेकशील नेपाली अभियानबाट वैकल्पिक राजनीतिमा जोडिएका केसी विवेकशील साझा र रास्वपा एकीकरण भएपछि रास्वपाको नेतृत्वमा पुगेका हुन् ।

एकताअघि उनी विवेकशील साझा पार्टीका सचिव तथा विदेश विभाग प्रमुख थिए । जेन-जी आन्दोलनपछि वैकल्पिक दलहरुकाे एकीकरणमा महत्वपूर्ण योगदान गरेका केसी एकीकरणका लागि विवेकशील साझाले बनाएको संवाद समितिका सदस्य पनि थिए ।

२०७२ सालमा विवेकशील अभियानमा जोडिएका केसी ललितपुर जिल्लाको नेतृत्व गर्दै बागमती प्रदेश सचिव पनि भएका थिए ।

उद्धमशीलता, सामाजिक तथा राजनीतिक गतिविधिमा निरन्तर संलग्‍न केसी २०७२ सालमा संविधान घोषणा हुँदा नेपालमा भएको नाकाबन्दीमा देशको विकराल अवस्था देखेर राजनीतिमा होमिएका हुन् ।

उनले विपद् व्यवस्थापनका निम्ति भूकम्प, बाढी-पहिरो, तराईमा हुरिबतास, आगलागी तथा काेरोना महामारीकालमा मैदानमा खटेर उल्लेख्य योगदान गरेका थिए।

मलेसियामा भएको एसियाली युवा नेताहरूको सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका केसीले राजनीतिमा युवा सहभागिता र हस्तक्षेपका लागि निरन्तर आवाज उठाउने गरेका छन् ।

एक पाइला परिवर्तन तर्फ संस्थाका पूर्वअध्यक्ष रहेका उनी अन्तर्राष्ट्रिय पदकधारी तेक्‍वान्‍दाे खेलाडी पनि हुन। उनले युवाहरूमाझ चर्चित बहस कार्यक्रम डीडीएन (डिबेट नेटवर्क नेपाल) मा समेत सक्रिय भूमिका खेलेका थिए।

डा‍. गोविन्द केसीको चिकित्सा शिक्षा सुधार आन्दोलन, ईनफ इज ईनफ अभियान, महिला हिंसाविरुद्धको अभियान, नेपाल खुल्ला छ अभियान, ट्राफिक सचेतना अभियान लगायतका अभियानहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेका केसी एक दशकदेखि वैकल्पिक राजनीतिमा सक्रिय रहँदै आएका छन् ।

ललितपुरमा जन्मेर हुर्किएका केसी ललितपुरको जमिन र जनतासँग नजिकबाट जोडिएका नेता हुन् ।

उनी आफ्नो बाल्यकाल धापाखेलको नागदह, कर्मनासा खोला, बालकुमारी मन्दिरको चौर, खुमलटारको कृषि, हरिसिद्धी, सुनाकोठी, ठेचो, ठैब, बुङ्‍मति र खोकनाका रमणीय जात्राहरू हेरेर बितेको बताउँछन् ।

‘मेरा बाल्यकालका कैयन् अविस्मरणीय पलहरू यसै क्षेत्र वरपर बितेका छन्,’ केसी भन्छन्, ‘चाडपर्वलगायत थुप्रै सामाजिक कार्यक्रमहरूमा हामी धेरै सहयोग पाउने आसाले नखिपोट, कुसुन्ती र थसीखेलजस्ता ठाउँहरूमा जान्थ्यौँ । म यहीँको एक किसानको नाति, शिक्षक बुबा र गृहिणी आमाको छोरा हुँ । त्यसैले, मैले यहाँका समस्या र आवश्कयतालाई नजिकबाट बुझेको छु ।’

धापाखेलको जुगल स्कुलबाट एसएलसी गरेपछि उनले ओमेगा इन्टरनेशनलबाट टेन प्लस टु र ब्रिटिस कलेजबाट बिआइटी गरेका हुन् ।

कलेज पढ्ने विद्यार्थी हुँदै सामाजिक र राजनीतिक गतिविधिमा सरिक भएका केसीले ललितपुरमा भएका विभिन्‍न समाजिक/प्रशासनिक सुधारका आन्दोलनको नेतृत्व पनि गरेका थिए भने राष्ट्रिय स्वरूपका आन्दोलनमा ललितपुरको नेतृत्व पनि गरेका थिए ।

‘बालापनदेखि अहिले युवावस्थासम्म आइपुग्दा यो क्षेत्रको नशानशा छामेको र बुझेको मलाई महसुस हुन्छ,’ केसी भन्छन्, ‘त्यसैले, साँच्चिकै यो क्षेत्रका समस्या समाधान र विकासका कदमक लागि मैले केही गर्नुपर्छ भन्‍ने महसुस भएर नै मैले ललितपुरको प्रतिनिधित्व गर्ने निधो गरेको हुँ ।

‘ललितपुरका आजसम्मका प्रतिनिधिहरू जनताभन्दा अलग्गै हुने प्रवृत्ति देखिएको छ,’ केसी भन्छन्, ‘हाम्रो निर्वाचन क्षेत्रमा जनताले जनतासँगै हुने र जनताका समस्या तथा आवश्यकतालाई सक्षमताका साथ सरकारसम्म पुर्‍याउने नेतृत्व खोजेको हो । म जनतासँगै रहेर यो काम गर्नका लागि अघि सरेको हुँ ।’

ललिपुरले परिपक्‍व र सक्षम नेतृत्व खोजेको र आफ्नो उम्मेद‍वारी यसैका लागि भएको उनको दाबी छ । ललितपुरमा भएका सम्भावनाहरूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा जोड्न भूमिका खेल्ने उनी बताउँछन् ।

‘म जनतासँगै बस्छु र जनताकै आवाज उठाइरहन्छु,’ केसी भन्छन्, ‘नेता र जनता अलग हुने अहिलेसम्मको परम्परा तोड्नु नै मेरो उद्देश्य हो ।’

निकोलस भुसालसँग वार्ता गर्न सरकारले बनायो समिति

काठमाडौं । अनसनरत डा. निकोलस भुसालसँग वार्ता गर्न सरकारले वार्ता समिति बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १० दिनदेखि विभिन्न माग राख्दै अनसन बसेका भुसालसँग वार्ता गर्न समिति गठन गरेको हो । भुसालसँग वार्ता गर्न प्रधानमन्त्रीको प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा समिति गठन गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । विभिन्न माग राखी केही दिनदेखि अनसनरत भुसालको नेतृत्वको समूहसँग वार्ता गर्न समिति गठन गरी खनाललाई संयोजक तोकिएको छ । उक्त वार्ता टोलीमा ३ सदस्य समेत रहेका छन् ।

सदस्यहरुमा प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. भीष्मकुमार भूसाल र जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल छन् । भुसालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, प्रदेश खारेजीलगायतका विभिन्न मागहरु राखेर माइतीघरमा अनशन बसेका थिए । बुधबार उनको स्वास्थ्यमा समस्ंया आएपछि उपचारको लागि वीर अस्पतालमा लगिएको छ । उनको अहिले उपचार जारी छ ।

देउवाले बोलाएको छलफल गगनले गरे अस्वीकार, प्रतिवेदन तयार पार्न धुलिखेल जाँदै

काठमाडौं । नेपाली कांग्रेसकाे इतर पक्षले विशेष महाधिवेशनको तयारी तीव्र बनाएको छ । सभापति शेरबहादुर देउवाले आज साँझ ५ बजे आफ्नो निवास महाराजगञ्जमा महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफलका लागि बोलाए पनि, थापा विशेष महाधिवेशनको प्रतिवेदन तयार पार्न धुलिखेल जाने कार्यक्रममा व्यस्त हुने भएका छन्।

महामन्त्री थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार थापा बिहीबार साढे ४ बजे धुलिखेल प्रस्थान गर्ने तयारीमा छन् । ‘विशेष महाधिवेशनको प्रतिवेदन तयार पार्ने कामको लागि २–४ दिन धुलिखेल जाने तालिका पूर्व निर्धारित थियो । थापा प्रतिवेदन तयार पारेर मात्र फर्किने छन्’, उनले बताए। विशेष महाधिवेशनका पक्षधर नेताहरूले २७ र २८ पुसका लागि काठमाडौंस्थित ठूलो हल बुक गरेका छन् । आयोजक समितिका अनुसार, दुई दिनको हल भाडा, बगैँचा र पार्किङस्थल समेतको शुल्कसहित करिब ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । बुकिङका लागि आयोजक समितिले एक लाख ५७ हजार रुपैयाँ पेस्की तिरिसकेको छ ।

महाधिवेशनको सम्पूर्ण व्यवस्थापन—खाना, स्टेज, साउण्ड सिस्टम, सजावट लगायत—इभेन्ट म्यानेजमेन्ट कम्पनीमार्फत एकै पटक सम्हालिने तयारी भइरहेको छ । विशेष महाधिवेशनका लागि हल बुक गर्ने काममा युवा नेता लेखनाथ पोखरेल स्वयं संलग्न भएका थिए । यसअघि, असोज २९ मा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन प्रस्ताव दर्ता भएको थियो । विधानअनुसार, प्रस्ताव दर्ता भएको ३ महिनाभित्र महाधिवेशन आयोजना गर्नुपर्छ । गत मंसिर १५ मा केन्द्रीय कार्यसमितिको बैठकले पुस २६–२८ सम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेको भए पनि, नियमित महाधिवेशन स्थगित भएपछि विशेष महाधिवेशनको विवाद फेरि चर्किएको छ ।

बालेन-सुनितासहित ६ महानगरका २०८ उम्मेदवार निर्वाचन आयोगको कारबाहीमा

काठमाडौँ ।  २०७९ को स्थानीय तह निर्वाचनको क्रममा उम्मेदवार बनेका ६ महानगरका २०८ जना उम्मेदवार कारबाहीमा पर्ने भएका छन् । २०७९ मा उम्मेदवार भई कानून बमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने तथा विलम्ब गरी बुझाउने उम्मेदवार निर्वाचन आयोगको कारबाहीमा पर्ने भएका हुन् । निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ मा चुनावमा उम्मेदवार भएका व्यक्तिहरुले आयोगले तोकेको समय सीमाभित्र खर्चको विवरण बुझाई सक्नुपर्ने व्यवस्था छ । 

आयोगले २०७९ को स्थानिय तहको निर्वाचनको सन्दर्भमा २०७९ भदौ १ गते गोरखापत्रमा ७ दिनभित्र खर्चको विवरण विलम्ब गरी बुझाउनेहरुलाई स्पष्टिकरण पेश गर्नुपर्ने सूचना निकालेको थियो । सो समयावधिमा निर्वाचन आयोगमा पेश भएका स्पष्टिकरणको व्यहोरा चित्त बुझ्दो नदेखिएको र स्पष्टिकरण नआएको भन्दै निर्वाचन आयोगले कारबाहीमा परेका २०८ जनाको सूची निकालेको छ । 

यो सूचीमा काठमाडौँ महानगरपालिकाका निर्वाचित मेयर/उपमेयर बालेन्द्र शाह र सुनिता डंगोल, विराटनगर महानगरपालिकाका निर्वाचित मेयर/उपमेयर नागेश कोइराला र शिल्पा कार्की, भरतपुर महानगरपालिकाका निर्वाचित मेयर/उपमेयर रेणु दाहाल र चित्रसेन अधिकारी, पोखरा महानगरपालिकाका निर्वाचित मेयर धनराज आचार्य, वीरगञ्ज महानगरपालिकाका मेयर/उपमेयर राजेशमान सिंह र ईम्तियाज आलमलगायतका जनप्रतिनिधि समावेश छन् । आयोगका अनुसार यसरी कारबाहीमा पर्नेले निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा १ अनुसार जनही ७ लाख ५० हजार जरिवाना तिर्नुपर्ने छ । 

कारबाहीमा पर्नेको सूची:

 

रवि लामिछानेसँग ६० लाख धरौटी माग्ने जिल्लाको आदेश उच्च अदालतबाट पनि सदर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, छविलाल जोशी, सुनिता नेवा र कमल लामालाई संगठित रूपमा ठगी गरेको आरोपमा दायर मुद्दामा धरौटीमा छोड्ने जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालत पाटनले सदर गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र दीपककुमार खरेलको संयुक्त इजलासले जिल्ला अदालतको निर्णय कानुनसम्मत रहेको ठहर गर्दै आदेश परिवर्तन गर्नु आवश्यक नभएको स्पष्ट गरेको छ ।

इजलासले भन्यो कि जिल्ला अदालतले प्रतिवादीको बयान, जाहेरी विवरण, रकमको प्रयोगको अवस्था र प्रारम्भिक संलग्नताको आधारमा पुर्पक्षका लागि धरौटी माग गर्ने निर्णय गरेको थियो, जुन मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ अनुसार गैरकानुनी नभएको छ । यसअघि काठमाडौं जिल्ला अदालतले रवि लामिछानेसहित अन्य आरोपितलाई क्रमशः ६० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । जिल्ला अदालतले प्रतिवादीलाई धरौटी बुझाइसकेको र आगामी प्रक्रियामा थप प्रमाण संकलन तथा साक्षी बयान लिने भएकाले तत्काल आदेश परिवर्तन गर्न आवश्यक नपर्ने ठहर गरेको हो ।

मामला स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित छ, जसमा नेपाल सरकार वादी रहेको छ । वादीको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठी र उच्च सरकारी वकिल कार्यालय, पाटनका उप–न्यायाधिवक्ता मोहन खनाल र सहायक न्यायाधिवक्ता अञ्जली शर्माले बहस गरेका थिए। प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुशीलकुमार पन्त र सुरेन्द्र थापा, डा. नारायणदत्त कँडेल र अपूर्व खतिवडाले बहस गरेका थिए । उच्च अदालतको निर्णयपछि रवि लामिछानेसहित सबै प्रतिवादी धरौटी बुझाएर कानुनअनुसार जारी रहेको र निर्दिष्ट तारिखमा अदालतमा उपस्थित हुने व्यवस्था यथावत् रहने भएको छ । अदालतको अन्तिम फैसलासम्म, प्रतिवादी धरौटी र तारिखको शर्तमा नै रहने छन् । आगामी चरणमा काठमाडौं जिल्ला अदालतले थप प्रमाण संकलन, साक्षी बयान र कानुनी प्रक्रियामार्फत अन्तिम निर्णय गर्नुपर्नेछ ।

 

लेखकमाथिको स्थान हद फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकको विदेश भ्रमण रोक र स्थान हद फुकुवा भएको छ । भदौ २३ र २४ गतेको घटना छानविन गर्न गठिन जाँचबुझ आयोगले पूर्व गृहमन्त्री लेखकको विदेश भ्रमण रोक र स्थान हद फुकुवा गर्ने निर्णय गरेको हो । बिहीबार आयोगको सचिवालयले गृह मन्त्रालयमार्फत लेखकलाई स्थान हद फुकुवा गरेको जानकारी गराएको हो ।

लेखकलाई असोज १२ गते बसेको आयोगको बैठकले विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो । आयोगले सोमबारदेखि लेखकको बयान लिएको थियो। उनको बयान सकिएपछि आयोगले स्थान हद फुकुवा गरेको हो । अब आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने तयारी गरेको छ। त्यसका लागि पत्र लेख्ने आयोगको तयारी छ । जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकसँग चार घण्टासम्म पूरक बयान समेत लिएको थियो ।

पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले बुधबार सिंहदरबारमा लेखकसँग विस्तृत रूपमा बयान लिएको हो । यसअघि पनि आयोगले पुस १४ गते करिब दुई घण्टा लेखकसँग बयान लिइसकेको थियो । बुधबारको लामो बयानपछि लेखकले सिंहदरबारमै पत्रकार सम्मेलन गरी आयोगलाई आफूले दिएको विवरणबारे जानकारी दिएका थिए । भदौ २३ गते प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि तत्कालीन गृहमन्त्री लेखकले सोही दिन साँझ नै नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए ।

उक्त घटनापछि भदौ २४ गते काठमाडौंसहित २८ जिल्लामा आन्दोलन चर्किएको थियो । आन्दोलनका क्रममा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायत प्रमुख सरकारी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट भएको थियो । विभिन्न प्रहरी कार्यालयमा आगजनी हुनुका साथै हतियार समेत लुटिएको थियो । आयोग समक्ष दिएको बयानमा लेखकले आफू र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली दुवैले सुरक्षाकर्मीलाई स्पष्ट रूपमा ‘कुनै पनि हालतमा क्याजल्टी नहोस्’ भन्ने निर्देशन दिएको दाबी गरेका छन् ।

उनका अनुसार भदौ २३ गते बिहान समेत उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकलाई फोन गरी संयम अपनाउन र हताहती हुन नदिन विशेष ध्यान दिन आग्रह गरेका थिए । यही विषयमा गृह सचिवसँग पनि निरन्तर समन्वय भएको उनले बताएका छन् । लेखकले गृहमन्त्रीको हैसियतमा सुरक्षाका निकायलाई तीन वटा मुख्य निर्देशन दिएको उल्लेख गर्दै लोकतन्त्र, विधिको शासन र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफू लामो समयदेखि राजनीतिक जीवन समर्पित गर्दै आएको दाबी गरेका छन् । ‘विचार अभिव्यक्तिलाई रोक्ने कुरा सोच्न पनि सक्दिनँ’, उनले आयोग समक्ष भनेको विवरणमा उल्लेख छ ।

आयोगले यसअघि तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की (भदौ २४ मा काठमाडौं उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेका), काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल, तत्कालीन काठमाडौं प्रहरी प्रमुख विश्व अधिकारीलगायतसँग बयान लिइसकेको छ । उनीहरूमाथि लगाइएको स्थानहद यसअघि नै फुकुवा भइसकेको छ ।

दुर्गा प्रसाईको चेतावनी : सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले सरकारले आइतबारसम्म आफ्ना मागमा स्पष्ट सहमति नगरे देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीसँग सिंहदरबारमा भएको झण्डै दुई घण्टाको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले सरकार गम्भीर नदेखिएको खण्डमा आन्दोलन अपरिहार्य हुने बताएका हुन् ।

प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा भएको वार्तामा सरकारले आइतबारसम्म सहमतिको मस्यौदा टुंग्याउने र सोमबारको मन्त्रिपरिषद् बैठकबाट कार्यान्वयन गर्ने प्रस्ताव राखेको प्रसाईंको भनाइ छ । ‘प्रधानमन्त्रीले आइतबारसम्म समय माग्नु भएको छ । सहमति भयो भने सोमबार मन्त्रिपरिषद्बाट निर्णय हुन्छ भनिएको छ,’ उनले भने, ‘तर आइतबारसम्म सम्झौतामा हस्ताक्षर भएन भने हामी आन्दोलनमा जानेछौं ।’

प्रसाईंले आन्दोलनका कार्यक्रम कडा हुने संकेत पनि दिएका छन् । उनका अनुसार सहमति नभए गाउँ–गाउँबाट लघुवित्त, सहकारी र बैंकहरूलाई बहिष्कार गर्ने अभियान सुरु गरिनेछ । साथै आगामी २१ फागुनमा तय भएको निर्वाचनसमेत प्रभावित पार्ने चेतावनी उनले दिएका छन् । ‘हामी विद्रोह होइन, जनमत संग्रहमार्फत लोकतन्त्रको अधिक प्रयोग गर्न चाहन्छौं,’ उनले भने, ‘तर मागलाई बेवास्ता गरेर नक्कली टिम बोकेर चुनावमा जान खोजियो भने त्यो असम्भव हुन्छ ।’

उनले आफूहरूका माग व्यक्तिगत नभई आम नागरिक, विशेषगरी सहकारी र लघुवित्त पीडितसँग जोडिएको दाबी गरे । २० लाख रुपैयाँभन्दा कम ऋण मिनाहा गर्नुपर्ने, सहकारी तथा लघुवित्त पीडितलाई राज्यले राहत दिनुपर्ने, र आन्दोलनमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिहरूको रिहाइ हुनुपर्ने उनका मुख्य माग छन् । प्रसाईंका अनुसार हाल करिब ११ सय ‘जेनजी’ प्रहरी हिरासत र जेलमा छन् । ‘एउटा पक्षलाई रुवाएर चुनाव हुन सक्दैन,’ प्रसाईंले दोहोर्‍याउँदै भने, ‘न्याय नपाएका नागरिकलाई छोडेर, पीडितका मुद्दा थाती राखेर गरिने कुनै पनि चुनाव स्वीकार्य हुँदैन ।’ उनले सरकारलाई गम्भीर भएर समस्या समाधानतर्फ जान आग्रह गर्दै आइतबार निर्णायक दिन हुने स्पष्ट पारे । सरकारसँग तेस्रो पटक वार्ता भएको उल्लेख गर्दै प्रसाईंले यस पटक पनि सहमति कार्यान्वयनमा ढिलासुस्ती भए आन्दोलन अझ व्यापक हुने चेतावनी दिएका छन् । अब सबैको ध्यान आइतबारसम्म सरकार र आन्दोलनरत पक्षबीच ठोस सहमति हुन्छ कि हुँदैन भन्नेमा केन्द्रित भएको छ ।