`

‘लमी’ बनेका कार्की सरकारको ‘बेहुलाे’ बन्‍ने इच्छा

काठमाडौं । जेन–जी विद्रोहपछि राजनीतिक दलहरू रक्षात्मक अवस्थामा पुगे ।

त्यस्तो अवस्थामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गत २७ भदौमा नागरिक सरकार बन्यो ।

उनको मन्त्रिपरिषद्‍मा जेन–जी समर्थित पूर्वकर्मचारी, पूर्वन्यायाधीश, वैज्ञानिक, पत्रकार, अभियन्ता, समाजसेवी आदि मन्त्री समेटिए ।

उनीहरू सम्बद्ध सरकार गैरदलीय हो । अर्थात् पूरापूर नागरिक सरकार हो ।

तर, कार्कीको सरकार साढे तीन महिनामै दलीय भएको छ । कार्की सरकारका नेताहरू रास्वपामा खुले ।

ऊर्जा, भौतिक र सहरी विकासमन्त्री कुलमान घिसिङ रास्वपाका वरिष्ठ उपसभापति भएका छन् ।

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल रास्वपाबाट निर्वाचन लड्ने तयारीमा रहेको चर्चा छ ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता रास्वपामै खुलेका छन् । अन्य केही मन्त्री पनि रास्वपासँग नजिक रहेको स्रोतको दाबी छ । नागरिक सरकार दलीय हुँदै गएपछि तीब्र आलोचना भएको छ ।

यसप्रति राजनीतिशास्त्री भेषराज घिमिरेले कडा शब्दमा टिप्पणी गरे ।‘जसलाई लमी छानियो, उसैले बेहुलो बन्ने इच्छा गरे’, कार्की सरकारको परिवर्तित रूपमाथि टिप्पणी गर्दै घिमिरेले नेपालवान एचडीसँग भने ।

उनले नागरिक सरकारको विश्‍वस्‍नियता कमजोर भएको पनि बताए । उनका अनुसार नागरिक सरकार तोकिएको समयमा तटस्थ रहेर निर्वाचन गर्न प्रतिबद्ध हुनुपर्छ ।

तर, मन्त्रीहरू रास्वपामा जान रस्साकस्सी गर्दा उनीहरूका व्यक्तिगत र राजनीतिक जीवनप्रति राम्रो चरित्रचित्रण नहुने पनि डा. घिमिरे बताउँछन् ।

सुनसरी गोलीकाण्ड : पीडित र प्रशासनबीच पाँच बुँदे सहमति, अझै रोकिएन आन्दोलन

सुनसरी । सुनसरीको लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर सफारी चालक विजय साहको मृत्यु भएको घटना छानबिनका लागि समिति बनाइएको छ । आक्रोशित स्थानीयले भने अझै आन्दोलन रोकेका छैनन् । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलपछि सहायक सीडीओको संयोजकत्वमा प्रहरीका डीएसपी र राष्ट्रिय अनुसन्धानका अधिकृत रहने गरी समिति बनाइएको छ । समितिलाई प्रतिवेदन पेश गर्न ७ दिनको समय सीमा दिइएको छ ।

यस्तै मृतककी श्रीमती र छोरालाई रोजगारी दिलाउने सहमति भएको छ । एपीएफको लौकहीस्थित बीओपी टोली पनि फिर्ता गराउने सहमति बनेको सुनसरीका सीडीओ वासुदेव घिमिरेले बताए । सर्वपक्षीय सहमति पश्चात् प्रशासनमा वार्तामा बसेको मृतकका आफन्त र स्थानीयले आन्दोलनरत पक्षलाई आन्दोलन र प्रदर्शन फिर्ता लिन आग्रह गरेको छ । बुधबार राति करिब १ बजे सशस्त्र प्रहरीले चलाएको गोली लागेर भारतबाट सिटी सफारीमा सामान लिएर आउँदै गरेका साहको मृत्यु भएको थियो । उनको मृत्युपछि स्थानीय र पीडित पक्ष आन्दोलित भएका थिए । आन्दोलनका क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो । सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टमा पनि आक्रमण भएको थियो ।

 

कोइला बालेर सुत्दा निस्सासिएर शिशुको मृत्यु, आमासहित तीन जना बेहोस

सुर्खेत । सुर्खेतमा जाडो भगाउन कोइला बालेर सुतेको अवस्थामा एक ३८ दिनको शिशुको मृत्यु भएको छ भने परिवारका अरु तीन जना बेहोस भएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा कोठाभित्र कोइला बाल्दा निस्किएर ३८ दिनको शिशुको मृत्यु भएको हो । भेरीगंगा नगरपालिका–२ का स्थायी बासिन्दा तारा बुढा हाल वीरेन्द्रनगर–१२ मा डेरा गरी बस्दै आएकी थिइन् ।

बिहीबार बिहान लामो समयसम्म कोठाबाट नउठेपछि घरधनीले ढोका खोलेर हेर्दा कोठाभित्र चारै जना अचेत अवस्थामा भेटिएका हुन् । तीमध्ये ३८ दिनकी छोरी प्रतीक्षा बुढाको घटनास्थलमै मृत्यु भइसकेको थियो । बेहोस अवस्थामा रहेकी तारा बुढा, उनकी भदैनी संगम बुढा र १० वर्षका छोरा प्रकाश बुढालाई तत्काल उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको छ । उनीहरूको अवस्था उपचारपछि सामान्य हुँदै गएको बताइएको छ । प्रहरीका अनुसार बन्द कोठाभित्र कोइला बालेर सुतेका कारण अक्सिजनको कमी भई घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । शिशुको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

ओलीलाई बयानका लागि पत्र काट्दै जाँचबुझ आयोग, नआए के हुन्छ ?

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले अनुसन्धानलाई राजनीतिक तहसम्म विस्तार गरेको छ । आयोगले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी अन्तिम चरणमा पुर्‍याएको जनाएको छ ।

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले ओलीलाई औपचारिक रूपमा पत्र पठाउने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् । उनले ओलीको बयान अझै बाँकी रहेकाले आयोगले करिब एक साताको समय दिएर बयानका लागि उपस्थित हुन आग्रह गर्ने तयारी गरेको बताए । ‘ओलीजीलाई बोलाउने प्रक्रियामा छौं । आउनु भएन भने त्यसबारे आवश्यक निर्णय समयमै हुन्छ’, अध्यक्ष कार्कीले भने, ‘उहाँका लागि प्रश्नपत्र समेत तयार भइसकेको छ ।’

आयोगका अनुसार तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान प्रक्रिया पूरा भइसकेको छ । लेखकसँग सोमबार र बुधबार गरी दुई चरणमा बयान लिइएको थियो । आयोगले यसअघि आन्दोलनका बेला फिल्डमा खटिएका सुरक्षाकर्मी र प्रशासनिक निकायका उच्च अधिकारीहरूसँग पनि विस्तृत बयान लिइसकेको जनाएको छ । यस क्रममा तत्कालीन मुख्यसचिव एकनारायण अर्याल, गृहसचिव गोकर्णमणि दुवाडी, प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालगायतको बयान लिइएको आयोगले जनाएको छ ।

सुरक्षा र प्रशासनिक निकायका जिम्मेवार पदाधिकारीको बयान सकिएपछि आयोग राजनीतिक नेतृत्वको भूमिकाबारे अनुसन्धानमा केन्द्रित भएको हो । आयोग अध्यक्ष कार्कीका अनुसार आयोगको कार्यावधि एक महिना थप गरिएको छ र थपिएको समयभित्र सम्पूर्ण अनुसन्धान पूरा गरी सरकारलाई प्रतिवेदन बुझाउने तयारी भइरहेको छ । पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा ५ असोजमा गठन गरिएको यस आयोगले घटनासँग सम्बन्धित कागजात, विवरण र प्रत्यक्ष सरोकारवालाको बयानका आधारमा निष्कर्ष निकाल्ने जनाएको छ । आयोगले आन्दोलनका क्रममा भएका घटनामा निर्णय तहमा रहेका व्यक्तिहरूको भूमिकालाई विशेष प्राथमिकताका साथ अध्ययन गरिरहेको बताइएको छ ।

कांग्रेसको विशेष महाधिवेशनका लागि हल ‘बुकिङ’, दुई महामन्त्रीले संयुक्त आह्वान गर्दै

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर आन्तरिक राजनीति तातेको छ । एकातिर विशेष महाधिवेशन पक्षधर नेताहरूले काठमाडौँको भृकुटीमण्डमा हल ‘बुकिङ’ गर्दै तयारी तीव्र पारेका छन् भने अर्कोतिर सभापति शेरबहादुर देउवा त्यसलाई रोक्न संस्थापन पक्षसँग परामर्शमा जुटेका छन् । विशेष महाधिवेशन पक्षधर नेताहरूले पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपको हल बुकिङ गरिसकेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिएका छन् ।

उनका अनुसार, नियमित महाधिवेशन निर्धारित समयमा हुन नसकेपछि विधानअनुसार विशेष महाधिवेशनको बाटो रोज्न बाध्य भएको उनीहरूको दाबी छ । गत असोज २९ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन बोलाउन प्रस्ताव दर्ता भइसकेको थियो । कांग्रेस विधानअनुसार प्रस्ताव दर्ता भएको तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । यसअघि दुवै पक्षबीच पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन गर्ने सहमति भए पनि त्यो कार्यान्वयन हुन सकेन ।

यसैबीच, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि विशेष महाधिवेशनकै पक्षमा उभिएका छन् । उनीहरूले संयुक्त विज्ञप्तिमार्फत विशेष महाधिवेशन आह्वान गर्ने तयारी गरेको विशेष महाधिवेशन पक्षधर नेताहरूले बताएका छन् । महामन्त्री थापाले यसअघि नै पुस मसान्तभित्र महाधिवेशन गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत आह्वान गरिसकेका छन् । उता, सभापति शेरबहादुर देउवा भने विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाउने र विभाजनको जोखिम बढाउने तर्क गर्दै त्यसको विपक्षमा छन् ।

विशेष महाधिवेशन रोक्ने रणनीतिका लागि देउवाले संस्थापन पक्षका नेताहरूसँग छलफल सुरु गरेका छन् । सोही क्रममा उनले बिहीबार बिहान महाराजगञ्जस्थित निवासमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग संवाद गरेका छन् । स्रोतका अनुसार देउवाले विशेष महाधिवेशन पक्षधरहरूको गतिविधि–हल खोज्ने, विधानसम्बन्धी तयारी गर्ने लगायतका काम तीव्र भएपछि त्यसलाई कसरी रोक्ने भन्ने विषयमा ‘काउन्टर मुभ’ बारे परामर्श गरेका हुन् । यसरी, एकातिर विशेष महाधिवेशनको तयारी औपचारिक चरणमा प्रवेश गरिरहेको छ भने अर्कोतिर पार्टी नेतृत्व त्यसलाई रोक्न सक्रिय देखिएको छ । कांग्रेसभित्रको यो शक्ति संघर्षले आगामी दिनमा पार्टीको दिशा र एकतामाथि गहिरो प्रभाव पार्ने देखिएको छ ।

लेखकसँग छानविन आयोगको चार घण्टा पूरक बयान, स्थानहद फुकुवाको तयारी

काठमाडौं । भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग चार घण्टासम्म पूरक बयान लिएको छ । पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले बुधबार सिंहदरबारमा लेखकसँग विस्तृत रूपमा बयान लिएको हो । यसअघि पनि आयोगले पुस १४ गते करिब दुई घण्टा लेखकसँग बयान लिइसकेको थियो । बुधबारको लामो बयानपछि लेखकले सिंहदरबारमै पत्रकार सम्मेलन गरी आयोगलाई आफूले दिएको विवरणबारे जानकारी दिएका थिए । आयोग स्रोतका अनुसार, बयानका सबै प्रक्रिया पूरा भइसकेसँगै लेखकलाई लगाइएको स्थानहद (यात्रा तथा आवतजावतसम्बन्धी प्रतिबन्ध) फुकुवा गर्ने तयारी सुरु गरिएको छ ।

भदौ २३ गते प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि तत्कालीन गृहमन्त्री लेखकले सोही दिन साँझ नै नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए । उक्त घटनापछि भदौ २४ गते काठमाडौंसहित २८ जिल्लामा आन्दोलन चर्किएको थियो । आन्दोलनका क्रममा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायत प्रमुख सरकारी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट भएको थियो । विभिन्न प्रहरी कार्यालयमा आगजनी हुनुका साथै हतियार समेत लुटिएको थियो । आयोग समक्ष दिएको बयानमा लेखकले आफू र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली दुवैले सुरक्षाकर्मीलाई स्पष्ट रूपमा ‘कुनै पनि हालतमा क्याजल्टी नहोस्’ भन्ने निर्देशन दिएको दाबी गरेका छन् ।

उनका अनुसार भदौ २३ गते बिहान समेत उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकलाई फोन गरी संयम अपनाउन र हताहती हुन नदिन विशेष ध्यान दिन आग्रह गरेका थिए । यही विषयमा गृह सचिवसँग पनि निरन्तर समन्वय भएको उनले बताएका छन् ।
लेखकले गृहमन्त्रीको हैसियतमा सुरक्षाका निकायलाई तीन वटा मुख्य निर्देशन दिएको उल्लेख गर्दै लोकतन्त्र, विधिको शासन र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफू लामो समयदेखि राजनीतिक जीवन समर्पित गर्दै आएको दाबी गरेका छन् । ‘विचार अभिव्यक्तिलाई रोक्ने कुरा सोच्न पनि सक्दिनँ’, उनले आयोग समक्ष भनेको विवरणमा उल्लेख छ ।

आयोगले यसअघि तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की (भदौ २४ मा काठमाडौं उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेका), काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल, तत्कालीन काठमाडौं प्रहरी प्रमुख विश्व अधिकारीलगायतसँग बयान लिइसकेको छ । उनीहरूमाथि लगाइएको स्थानहद यसअघि नै फुकुवा भइसकेको छ ।

आयोग अध्यक्ष गौरीबहादुर कार्कीले लेखकको बयान प्रक्रिया सकिएको पुष्टि गरेका छन् । आयोग स्रोतका अनुसार, बयान समाप्त भएसँगै अब लेखकको स्थानहद फुकुवा गर्ने निर्णयतर्फ आयोग अघि बढिरहेको छ । यसले घटनासम्बन्धी छानबिन अन्तिम चरणतर्फ उन्मुख भएको संकेत गरेको छ ।
जेनजी आन्दोलनसँग जोडिएका यी घटनाले देशको शान्ति सुरक्षा र राजनीतिक जिम्मेवारीबारे गम्भीर प्रश्न उठाएको थियो । आयोगको अन्तिम प्रतिवेदनले उक्त घटनाको वास्तविकता, जिम्मेवारी र आगामी सुधारका उपायबारे स्पष्ट दिशा दिने अपेक्षा गरिएको छ ।

 

वसन्तपुरमा टोपी, माइतीघरमा धोती दिवस

काठमाडौं । नेपालीहरूले मंगलबार एकै दिन धोती र टोपी दिवस मनाएका छन् । दुवै नेपालीजनले लगाउने पहिरन हुन् ।

काठमाडौंको माइतीघर क्षेत्रमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको अगुवाइमा धोती दिवस मनाइएको हो ।

दिवस मनाउन धोती पहिरिएर आएकाहरूले ‘धोती–टोपी एक हौँ’ नारा गुञ्‍जाएका थिए । ‘धोती भनेर हेप्‍न पाइँदैन’ लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरिएको थियो ।

मंगलबार बिहान भने काठमाडौंको वसन्तपुर क्षेत्रमा टोपी दिवस मनाइएको थियो ।

डा. बाबुराम भट्टराई २०६८ मा प्रधानमन्त्री भएका बेला सरकारले राष्ट्रिय पोशाकबाट टोपी हटाउने कदम चालेको थियो । त्यसको विरोधमा टोपी लगाएर टोपीप्रेमीहरू प्रदर्शनमा उत्रिएका थिए ।

त्यसको सम्झनामा प्रत्येक वर्ष टोपी दिवस मनाउने गरिन्छ । उनीहरूका विचारमा टोली नेपाली पहिचान मात्रै नभएर गौरव पनि हो ।

तर, टोपी र धोती दिवसलाई सरकारले औपचारिक मान्यता दिएको छैन ।

 

अंग्रेजी नयाँ बर्षका दिन धनकुटाको भेडेटारमा पर्यटकको भीड (तस्वीरहरु)

धनकुटा । पूर्वी नेपालको पर्यटकीयस्थल धनकुटाको भेडेटारमा अंग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकहरूको भीड बढेको छ । यहाँ बिहीवार अंग्रेजी नयाँ वर्ष मनाउन स्वदेशी एवं विदेशी ( भारतीय ) पर्यटकको संख्या उल्लेख्य रुपमा देखिएको छ । छिमेकी देश भारतको बिहार राज्य र पश्चिम बंगाल लगायतबाट सो क्षेत्रमा नयाँ वर्ष मनाउन आउने गरेको स्थानीय व्यापारीहरूले बताए ।

भेडेटारमा पछिलो समय निर्माण गरिएको स्काइवाक सो क्षेत्रमा आउने पर्यटकहरूको आकर्षणको केन्द्र समेत बन्दै आएको छ । स्काइवाक गर्न र सो क्षेत्रको पर्यटकीय सुन्दरता हेर्न पूर्वका सहरहरू धरान, इटहरी, विराटनगरसहित झापा, धनकुटा, भोजपुर, इलाम, तेह्रथुम, खोटाङलगायत आसपासका जिल्लाबाट आन्तरिक पर्यटक आउने गर्दछन्
तस्वीर : नेपाल फोटो लाइब्रेरी

विदेशको झुटो आश्वासन, दर्जनौँ पीडित: ठगीकाण्डमा पाँच पक्राउ

काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ बस्‍ने उदयपुर उदयपुरगढी गाउँपालिका–३ घर भएका २६ वर्षीय विश्‍व ठकुरी भनिने विश्‍व विक्रम सेन, काठमाडौं टोखा नगरपालिका–९ बस्‍ने उदयपुर त्रियुगा नगरपालिका–१२ घर भएका ४४ वर्षीय अर्जुनकुमार निरौला, काठमाडौं महानगरपालिका–१० बस्‍ने ४८ वर्षीय गोपाल भनिने प्रेम श्रेष्ठ, काठमाडौं महानगरपालिका–७ बस्‍ने पाँचथर फिदिम नगरपालिका–१२ घर भएका ३८ वर्षीय पूर्णबहादुर तुम्ब्रोक र ललितपुर महानगरपालिका–२३ बस्ने काभ्रे पनौती नगरपालिका–१२ घर भएका ४० वर्षीय राजकुमार खड्का रहेका छन्।

प्रहरीका अनुसार विश्‍व, अर्जुन र प्रेमले एन्डोरा पठाइदिने भन्दै ९ जना पीडितबाट ५९ लाख ५० हजार रुपैयाँ असुलेका थिए।

त्यस्तै, पूर्ण बहादुरले अष्ट्रिया पठाइदिने भन्दै २ जना पीडितबाट ४ लाख रुपैयाँ र राज कुमारले स्पेन पठाइदिने भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रुपैयाँ लिएको खुलेको छ। रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएका थिए।

यस सम्बन्धमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा उजुरी परेपछि खटिएको प्रहरीले विश्‍व, अर्जुन, प्रेम र पूर्णबहादुरलाई काठमाडौं महानगरपालिका–९ बाट तथा राज कुमारलाई काठमाडौं महानगरपालिका–७ बाट पक्राउ गरेको हो।

पक्राउ परेका विश्‍व, अर्जुन र प्रेमलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने पूर्णबहादुर र राज कुमारलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

एमालेको समानुपातिक सूचीमा विष्णु पौडेलकोसहित २१ जिल्ला शून्य

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिक तर्फको बन्दसूचीले पार्टीभित्रै क्षेत्रीय असन्तुलनको बहस चर्काएको छ । सार्वजनिक सूचीअनुसार देशका ७७ जिल्लामध्ये ५६ जिल्लाबाट मात्र प्रतिनिधित्व भएको छ भने २१ जिल्लाबाट एक जना पनि समेटिएका छैनन् । विशेष गरी झापा र दाङ जस्ता जिल्लाबाट अत्यधिक प्रतिनिधित्व हुँदा रूपन्देही, प्यूठान जस्ता ठूला जिल्लाहरू शून्यमा परेका छन् ।

एमालेको बन्दसूचीमा मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, गोरखा, बागलुङ, ताप्लेजुङ, तेह्रथुम, रसुवा, मनाङ, नवलपुर (पूर्व), रूपन्देही, सल्यान, पश्चिम रुकुम, दैलेख, डोल्पा, डोटी, जुम्ला, बाजुरा, बैतडी र डडेल्धुराबाट कुनै पनि प्रतिनिधि समावेश छैनन् । समानुपातिक सूचीमा सबैभन्दा बढी झापाबाट नौं जनाको प्रतिनिधित्व देखिएको छ । झापा ठेगाना भएकामध्ये जनजाति महिला क्लस्टरबाट अनिता सुब्बा, जनजाति पुरुषबाट विद्यानन्द राजवंशी, खस–आर्य महिलाबाट नर्मदादेवी शिवाकोटी, मेनुका काफ्ले र लता प्रसाईं, दलित महिलाबाट निता घतानी, दलित पुरुषबाट जितु दर्जी गौतम र सोम पोर्तेल तथा मधेशी महिलाबाट बिना शाह महतो सूचीमा परेका छन् ।

समानुपातिक बन्दसूचीले लुम्बिनी प्रदेशमा पनि गम्भीर असन्तुलन देखाएको छ । प्रदेशबाट १८ जना समेटिँदा महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङबाट ४ जना समावेश भएका छन् । पाल्पाबाट पनि ४ जना परेका छन् । तर, ५ वटा निर्वाचन क्षेत्र रहेको रूपन्देही र प्यूठानबाट एक जना पनि नपर्नुले स्थानीय तहमा असन्तोष बढाएको छ । रूपन्देही एमालेका प्रभावशाली नेता तथा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र सचिव छविलाल विश्वकर्मा यही जिल्लाका भए पनि समानुपातिक सूचीमा जिल्लाको नामै नपर्नु कार्यकर्ताका लागि चित्तबुझ्दो देखिएको छैन । जिल्लाबाट विभिन्न क्लस्टरमा सिफारिस गरिएका सबै नाम केन्द्रले काटेको पुष्टि भएको छ ।

दाङबाट कोमल वली, एञ्जिला थापा, शान्ता चौधरी र साजिदा खातुन सिद्धिकी सूचीमा परेका छन् । शान्ता चौधरी यसअघि दुई पटक समानुपातिक सांसद भइसकेकी हुन् भने कोमल वली पनि पूर्व सांसद तथा केन्द्रीय कमिटी सदस्य हुन् । पाल्पाबाट ठानेश्वरप्रसाद बस्याल, हिरुसरा राना, ओमबहादुर घर्ती मगर र रोजी खातुन परेका छन् । यस्तै बाँके, रोल्पा, रुकुम पूर्व, गुल्मी, बर्दिया, कपिलवस्तु, अर्घाखाँची लगायतका जिल्लाबाट सीमित संख्यामा प्रतिनिधित्व गरिएको छ ।

प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले समानुपातिक सूची केन्द्रले नै तयार पारेको र प्रदेश–जिल्लासँग पर्याप्त समन्वय नभएको बताएका छन् । रूपन्देही अध्यक्ष यज्ञ गैरेले भने ठूलो निर्वाचन क्षेत्र भएको जिल्लालाई पूरै बेवास्ता गर्नु ‘गम्भीर भूल’ भएको टिप्पणी गरेका छन् । एमालेले ११० जनाको समानुपातिक सूची बुझाइसकेको छ । निर्वाचन आयोगले हाल क्लस्टरअनुसार सूचीको अध्ययन गरिरहेको छ । पुस २० गतेसम्म अध्ययन सकिने, २७ गतेसम्म संशोधन गर्ने, २८ गते नाम फिर्ता लिने र २० माघमा अन्तिम सूची प्रकाशन गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ । आगामी २१ फागुनमा मतदान हुनेछ ।

पहुँचवालाको संसद् पुग्‍ने वैकल्पिक ढाेका समानुपातिक बन्‍नु गलत : राम गुरुङ (भिडियोसहित)

काठमाडौं । डेढ दशकदेखि देशमा समानुपातिक निर्वाचन प्रणाली अभ्यासमा छ । दुईपटक संविधानसभा र दुईपटक प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणाली लागू भयो ।

प्रदेशसभा निर्वाचनमा पनि यही व्यवस्था कार्यान्वयनमा छ । तर, राजनीतिक विश्लेषक राम गुरुङको विश्लेषणमा यस अवधिमा समानुपातिक निर्वाचन प्रणाली मूल उद्देश्यबाट विचलित भयो ।

पार्टी नेतृत्वको मनपरी छनोट, नातावाद–कृपावाद र पराजित तथा असफल नेताहरूलाई संसद् छिराउने वैकल्पिक ढोका समानुपातिक निर्वाचन प्रणाली बन्यो ।

अर्थात्, पहुँजवालाको संसद् पुग्‍ने सुरक्षित गन्तव्य भयो । यसलाई उनी गलत मान्छन् ।

खासमा अवसरविहीन समुदायलाई राज्यको निर्णय प्रक्रियामा ल्याउने मूल ध्येय समानुपातिक निर्वाचन प्रणाली भएको उनी बताउँछन् ।

पूरा संवाद भिडियोमा

समानुपातिक बन्दसूचीका त्रुटि सच्याउन दलहरुसँग छलफलमा आयोग

काठमाडौं । निर्वाचन आयोगले पालैपालो राजनीतिक दललाई बोलाएर समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा देखिएका त्रुटि औंल्याउने काम गरिरहेको छ । पेस भएका सूचीको जाँचबुझ र दलका प्रतिनिधिसँगको छलफलपछि देखिएका कमजोरी सच्याएर पेस गर्न यही पुस २० गते औपचारिक पत्राचार गर्ने आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बन्द सूची पेस गर्ने दलले समावेशीको समूह (क्लष्टर) मिलाए-नमिलाएकोलगायत विवरण जाँच गरी सम्बन्धित दलका प्रतिनिधिलाई बोलाएर छलफल भइरहेको जानकारी दिए । उनले बुधबार १२ दलका प्रतिनिधिको रोहबारमा छलफल भएको बताउँदै आज पनि १२ दलसँग छलफल गर्ने तालिका रहेको जानकारी दिए ।

आयोगमा यही पुस १३ र १४ गते ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए । त्यसमध्ये २२ दलले मात्रै ११० वटै स्थानमा उम्मेदवारी मनोनयन गरेका छन् । सूचीअनुसार औसतप्रति निर्वाचन चिह्नमा उम्मेदवारी दिने दलको संख्या ६० देखिएको छ । यस्तै, न्यूनतम ११ स्थानमा बन्दसूची पेस गर्ने दलको संख्या १० रहेको छ । यसैगरी एकल चिह्न लिएका दल १० रहेका आयोगले जनाएको छ।

आयोगमा ९३ राजनीतिक दलले यस प्रणालीमा उम्मेदवारी दिन आवेदन दिए पनि बन्दसूची पेस गर्ने ६४ दल मात्रै भएका छन् । आयोगले यही पुस २१ गतेदेखि २७ गतेसम्म पेस भएको विवरण मिलाउन दललाई समय दिइनेछ । यही पुस २८ गतेदेखि आगामी माघ ३ गतेसम्म दलले मिलाएको बन्दसूची जाँच गरी आगामी माघ २० गते अन्तिम सूची प्रकाशन गरिने आयोगका सहायक प्रवक्ता जिसीले जानकारी दिए । आयोगमा यो प्रणालीको निर्वाचनका लागि स्थापित निर्वाचन अधिकृतको कार्यालयमा तथ्याङ्क, प्रविधि र कानुनी क्षेत्रका विज्ञहरू कार्यरत छन् । –रासस

टायल्स उद्योगका दुई मजदुर मृत फेला, घटना शंकास्पद भन्दै आफन्तको प्रदर्शन

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटस्थित एक टायल्स उद्योगका दुई मजदुर मृत फेला परेका छन् । एक नेपाली र एक जना भारतीय मजदुर उद्योगमा मृत फेला परेका हुन् ।मृत फेला पर्नेमा नवलपरासी बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला–६६ ग्रामपोस्टका ३० वर्षीय विनोद कुमार रहेको प्रहरीले जानकारी दिएको छ ।

बुधबार राति ८ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म ग्यासी फायरमा ड्यूटीमा खटिएका उनीहरू मृत फेला परेको प्रहरीले जनाएको छ । ग्यासी फायरको पोकिङ फ्लोरमा गद्दा ओछ्याएर सुतेको अवस्थामा उनीहरू मृत फेला परेको जानकारी कम्पनीका म्यानेजर रमेश न्यौपानेले बिहान सवा ९ बजे प्रहरीलाई गराएका थिए ।

घटनाबारे जानकारी पाउनेबित्तैकै प्रहरी टोलीले घटनास्थल पुगेको पश्चिम नवलपरासीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुशील घिमिरेले जानकारी दिए । मृत फेला परेका दुवै जना मजदुरको शरीरमा कुनै पनि प्रकारको घाउ चोट नदेखिएको उनले बताए । मृतकका आफन्तले भने घटना शंकास्पद भएको भन्दै उद्योग घेराउ गर्दै प्रदर्शन गरिरहेका छन् । उनीहरूले दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने माग राखेका छन् । घटनास्थलमा अहिले ३१ जना प्रहरीको टोली खटेर घटनाबारे अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

 

 

सन् २०२५ सञ्चार जगतका लागि दुःखद, विश्वभर १२८ पत्रकारको हत्या

काठमाडौं । सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या भएको अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले बिहीबार जनाएको छ । तीमध्ये आधाभन्दा बढी मध्यपूर्वमा भएको हो । आइएफजेका महासचिव एन्थोनी बेलाङ्गरले भने, ‘सन् २०२४ भन्दा बढेको यो संख्या केवल तथ्याङ्क मात्र होइन, यो हाम्रा सहकर्मीहरूका लागि विश्वव्यापी रेड अलर्ट हो ।’ प्रेस समूहले विशेष चिन्ता व्यक्त गर्दै प्यालेस्टिनी क्षेत्रहरूमा गाजामा हमास र इजरायलबीचको द्वन्द्वका क्रममा ५६ जना मिडिया पेशेवर मारिएका तथ्य प्रकाशमा ल्यायो ।

बेलाङ्गरले भने ‘हामीले यस्तो कहिल्यै देखेका छैनौँः यति छोटो समयमा, यति सानो क्षेत्रमा यति धेरै मृत्यु ।’ यमन, युक्रेन, सुडान, पेरु, भारत र अन्य स्थानमा पनि पत्रकारहरूको हत्या भएको थियो । उनले आक्रमणको पछाडि रहेका व्यक्तिहरूलाई ‘दण्डहीनता’ को चेतावनी दिंदै निन्दा गरे । ‘न्यायबिना, यसले पत्रकारका हत्याराहरूलाई फस्टाउन दिन्छ’ उनले भने ।

विश्वभर हाल ५३३ पत्रकार जेलमा रहेको आइएफजेले बताएको छ । यो विगत आधा दशकमा दोब्बरभन्दा बढी भएको तथ्य हो । हङकङमा १४३ जना पत्रकारलाई जेलमा राखिएको छ, जहाँ अधिकारीहरूले असहमतिलाई खारेज गर्दै राष्ट्रिय सुरक्षा कानून लागू गरेका थिए । पश्चिमी राष्ट्रहरूले यसलाई आलोचना गर्दै हङकङलाई सबैभन्दा खराब जेलरको सूचीमा शीर्ष स्थान दिएको छ । आइएफजेको तथ्याङ्क रिपोर्टर्स विदाउट बोर्डर्सको तुलनामा बढी देखिन्छ । यस वर्षको आइएफजे टोलमा नौ दुर्घटनामा मृत्यु भएका पत्रकारहरू पनि समावेश छन् । रिपोर्टर्स विदाउट बोर्डर्सले ६७ जना पत्रकारको हत्या रिपोर्ट गरेको छ भने युनेस्कोले ९३ जना राखेको छ । एजेन्सी

 

 

रवि, बालेन र कुलमानलाई रोक्न पुराना दलहरु पनि चुनावी गठबन्धनको कसरतमा हुन् ?

काठमाडौं । वैकल्पिक राजनीतिमा देखिएको नयाँ ध्रुवीकरणले मुलुकको पुरानो सत्ता राजनीतिलाई पुनः तरङ्गित बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबीच एकतापछि उत्पन्न दबाबले नेपाली कांग्रेस र नेकपा एमाले जस्ता दुई ठूला दललाई फेरि नजिक ल्याएको विश्लेषण हुन थालेको छ ।

आगामी माघ ११ मा हुने राष्ट्रिय सभा र फागुन २१ मा तय प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संवाद बढेको स्रोतहरूको दाबी छ । २०८१ असार १७ मा भएको सात बुँदे सहमतिको आधारमा ओलीले चुनावी सहकार्यको प्रस्ताव अघि सारेका हुन् । यद्यपि, कांग्रेसभित्रको आन्तरिक मतभेद र संस्थागत निर्णयका कारण प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन हुने–नहुने विषय अझै अनिश्चित देखिन्छ । एमालेका लागि राष्ट्रिय सभा निर्वाचन रणनीतिक रूपमा संवेदनशील बनेको छ । हाल एमालेका १० सांसद रहेकामा आगामी निर्वाचनमा गठबन्धन नगरे दुई सिटमा खुम्चिने जोखिम रहेको बताइन्छ । फागुन २० देखि रिक्त हुने १९ मध्ये १८ सिटमा निर्वाचन हुँदैछ । यही गणितीय दबाबका कारण एमालेले कांग्रेससँग अनौपचारिक ‘बार्गेनिङ’ थालेको चर्चा छ ।

एमाले सचिव भानुभक्त ढकाल संविधान र व्यवस्थाको रक्षाका लागि ठूला दलबीच सहकार्य स्वाभाविक भएको तर्क गर्छन् । तर उनले प्रतिस्पर्धात्मक वातावरण बने एमाले एक्लै चुनाव लड्न तयार रहेको पनि बताएका छन् । कांग्रेसभित्र भने राष्ट्रिय सभामा तालमेल गर्न सकिने, तर प्रतिनिधिसभामा आवश्यकताको सिद्धान्त हेरेर निर्णय लिनुपर्ने मत बलियो देखिन्छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत र नेता एनपी साउद मध्यमार्गी धारमा देखिन्छन् । सभापति देउवा लचक देखिए पनि कांग्रेसका महामन्त्री गगन थापा, डा. शेखर कोइराला र विश्वप्रकाश शर्मा पक्ष निर्वाचनपूर्व गठबन्धनको खुलेर विरोधमा छन् । महासमिति र केन्द्रीय समितिले समेत ‘भविष्यका आवधिक निर्वाचनमा कांग्रेस एक्लै लड्ने’ निर्णय गरिसकेको उनीहरूको तर्क छ ।

शेखर कोइरालाले कार्यकर्ताको मनोभावना विपरीत गठबन्धन स्वीकार्य नहुने चेतावनी दिएका छन् । ‘कांग्रेस कार्यकर्ता आफ्नै चुनाव चिह्नमा भोट हाल्न नपाएर दिक्क छन्,’ उनको भनाइ छ । राजनीतिक विश्लेषकहरूका अनुसार रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङ एकै ठाउँमा आउनुले कांग्रेस र एमालेलाई मनोवैज्ञानिक दबाबमा पारेको छ । प्राध्यापक कृष्ण पोखरेल भन्छन्, ‘पुराना दलहरूबीचको अप्राकृतिक गठबन्धनले उनीहरूको आत्मविश्वासको अभाव देखाउँछ । यस्ता गठबन्धनले मतदातामा नकारात्मक सन्देश जान सक्छ ।’ अघिल्लो चुनावमा रास्वपाले एक्लै २२ सिट जितेको तथ्य स्मरण गर्दै वैकल्पिक पक्षधरहरू नयाँ एकताले ठूला दललाई ठूलो धक्का दिन सक्ने अपेक्षा गर्छन् ।

एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले कांग्रेस–एमाले मिलेर चुनाव लड्नु पर्ने अभिव्यक्ति दिएपछि पार्टीभित्रै आलोचना सुरु भएको छ । नेता गोकुल बास्कोटाले समानुपातिक प्रणाली र नेतृत्व चयनबारे प्रश्न उठाउँदै बादललाई प्रत्यक्ष चुनाव लड्न चुनौती दिएका छन् । यद्यपि, एमाले अध्यक्ष ओली पछिल्ला दिनमा कांग्रेस र विशेषतः देउवाप्रति सकारात्मक सुनिन थालेका छन् । उनले संविधान र व्यवस्थाको रक्षाका लागि कांग्रेस–एमाले मिल्नु पर्ने तर्क गर्दै आएका छन् । यसबीच, कांग्रेस र एमाले दुवैले नेकपा माओवादीसँग पनि समानान्तर संवाद जारी राखेका छन् । माओवादी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षाका लागि सहकार्य खुला रहेको संकेत दिएका छन् । तर पार्टी नेता वर्षमान पुनले ‘जेनजी’ आन्दोलनपछि माओवादी बलियो बन्दै गएको भन्दै तत्काल गठबन्धनको आवश्यकता नरहेको बताएका छन् ।

 

 

नलडेको चुनाव, जितेको सांसद : रास्वपाको प्रदेशमा ‘सरप्राइज’

काठमाडौं । प्रदेशमा निर्वाचन नै नलडेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एक जना प्रदेश सांसद भएको छ ।

ती सांसद हुन्– डा. ताराप्रसाद जोशी । प्रत्यक्ष र समानुपातिक कतै निर्वाचन नलडे पनि रास्वपाको प्रदेश सांसद हुनु त्यसै रोचक हो ।

डा. जोशी डडेल्धुराको प्रदेश (ख)बाट २०७९ मा भएको प्रदेश संसद् निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भए ।

उनी सुदूरपश्‍चिम प्रदेश संसद् सदस्य हुन् । उनै जोशी हालै रास्वपा सांसद भएका छन् । उनीसँग नेपालवान एचडीले गरेको संक्षिप्त संवादको सम्पादित अंश :

000
स्वतन्त्र सांसद तपाईं राष्ट्रिय स्वतन्त्र पार्टीमा जानुभएको हो ?

हामीले उज्यालो नेपाल पार्टी बनाएका थियौँ । त्यो पार्टीको एकता हालै राष्ट्रिय स्वतन्त्र पार्टीसँग भयो । त्यसो हुँदा अब म स्वतः रास्वपाको सांसद भएँ ।

रास्वपाले त प्रदेश मान्दैन । प्रदेशमा चुनावै लडेन । त्यो दलको अब तपाईं प्रदेश सांसद ?

हो । तर, यहाँ स्पष्ट पार्नुपर्ने के छ भने रास्वपाले प्रदेश मान्दैन होइन मान्छ । मैले यसबारे पार्टी नेतृत्वसँग स्पष्टता पनि लिएँ ।

मलाई भन्‍नुभयाे कि ‘प्रदेश निर्वाचनमा तयारी गर्ने समय नै भएन, पार्टी स्थापना भएको केही महिनामै निर्वाचनमा जानुपर्ने भयो र उम्मेदवार खोज्‍नुपर्ने भयो, हामीलाई त्यसबेला समय पुगेन, त्यसो हुँदा प्रदेशमा उम्मेदवारी नदिने र निर्वाचन नलड्ने हाम्रो तत्कालीन निर्णय हो, हामी प्रदेशको वा संघीयताको विरोधी होइनौँ’ भनेर प्रष्ट पार्नुभयो ।

दोस्रो, रास्वपा प्रदेश मान्छ भन्ने पुष्टि यहाँबाट पनि हुन्छ कि रास्वपाले प्रदेशमा मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने मान्यता राखेको छ ।

रास्वपाको दस्तावेजमा त्यो छ । त्यसो हुनाले रास्वपाले प्रदेश नमान्‍ने वा संघीयता नमान्‍ने भन्‍ने होइन ।

मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्छ भनेको छ, त्यो त प्रदेश नमान्‍ने भन्‍ने अर्थ लाग्दैन ।

रास्वपा भन्छ– प्रदेश संरचनामा सुधार हुनुपर्छ । नसुधारिकनै तपाईं त  रास्वपाकाे प्रदेश सांसद हुनुभयो । तपाईंलाई पार्टीले केही भनेको छैन ?

मैले यस विषयमा पार्टी नेतृत्व (रवि लामिछाने)सँग कुरा गरेको छु । उहाँले प्रदेशको संरचनामा सुधार चाहनु नराम्रो त होइन ।

शासकीय प्रणालीमा सुधार त आम मान्छेले चाहेका छन् । मैले पनि चाहेको छु ।प्रदेशको मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित भएन भने केन्द्र सरकारमा समीकरण बदल्ने बित्तिकै नकारात्मक प्रभाव प्रदेशमा परिरहन्छ ।

त्यसलाई रोक्न प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री चाहिन्छ भनेको त प्रदेशको आवश्यकता छ भनेको हो नि ।

तर, प्रत्यक्ष र समानुपातिक दुवैतर्फ निर्वाचन नलडेको दलको सांसद हुनु त पक्कै असुहाउँदिलो हो नि ?

त्यस्तो हुँदैन । मैले अघि भनिसकेँ । रास्वपाले समय अभावले प्रदेशमा निर्वाचन नलडेको हो । त्यो स्वाभाविक पनि छ ।

पार्टी स्थापना भएको केही महिनामै निर्वाचनको तयारी गर्न सकिँदैन । त्यो पार्टी नेतृत्वले खुला रूपमा भनिरहनुभएको छ । मैले यसमा स्पष्टीकरण दिनु के आवश्यक छ र ?

उसो भए रास्वपाको सुदूरपश्चिम प्रदेश सांसदको रूपमा तपाईंले संसद्‍मा खेल्ने भूमिका के हुन्छ त ?

मैले हिजो पनि स्वतन्त्र सांसद भएर प्रतिपक्षमा बसेर जिम्मेवार भूमिका निर्वाह गरेँ ।

अब रास्वपामा लागेपछि मलाई ‘पोलिटिकल ब्याकिङ’ हुन्छ र म अझ सशक्त भूमिका निर्वाह गर्छुु ।

लौकहीमा सशस्त्रको गोलीले स्थानीय मारिएपछि उग्र प्रदर्शन, प्रहरीले हान्यो अश्रुग्यास

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकही बजार क्षेत्रमा सशस्त्र प्रहरी बलको गोली लागेर स्थानीय अटो-सिटी सफारी चालकको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । घटनापछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् भने सशस्त्र प्रहरीको अस्थायी बिट (बीओपी) परिसरमा ढुंगामुढा, तोडफोड र आगजनीसमेत भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

बिहीबार राति करिब १ बजे तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले चलाएको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको हो । उनी भारतबाट चिनी, सर्फ, सुर्ती लगायत सामग्री लिएर आफ्नै सिटी सफारीमा नेपालतर्फ आउँदै गरेको अवस्थामा गोली लागेको जनाइएको छ। प्रारम्भिक विवरणअनुसार घर नजिकै चेकजाँचको क्रममा विवाद बढेपछि गोली चलाइएको थियो र साहलाई दुई राउण्ड गोली लागेको बताइन्छ । सशस्त्र प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी कुमार न्यौपानेले तस्करको समूहसँग दोहोरो गोली हानाहान भएको दाबी गरेका छन् ।

उनका अनुसार चोरीको सामान बोकेको सवारी रोक्न खोज्दा सवारीमा सवार व्यक्तिबाट पहिले गोली चलेको र त्यसपछि सशस्त्र प्रहरीले जवाफी फायरिङ गरेको हो । स्रोतले जनाएअनुसार बीओपी लौकहीबाट सशस्त्र प्रहरी हबलदारको कमाण्डमा खटिएको चार जनाको चेकप्वाइन्ट टोलीले दुई वटा सिटी सफारी जाँच गर्न खोज्दा सिटी सफारीबाट दुई राउण्ड फायर भएको र त्यसपछि सशस्त्र प्रहरीले एसएलआरबाट पाँच राउण्ड फायर गरेको थियो ।

घटनापछि स्थानीयले शव उठाउन नदिँदै विरोध जारी राखेका छन् । बिहीबार बिहान करिब १६० जनाको भीड घटनास्थलबाट बीओपीको मुख्य गेटसम्म पुगेर ढुंगामुढा गरेको थियो । त्यसक्रममा बीओपीमा रहेको रिजर्भ टोलीले दुई सेल अश्रुग्यास प्रहार गरी भीड तितरबितर पारेको हो । कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले स्थिति नियन्त्रणमा लिन सीमित मात्रामा अश्रुग्यास प्रयोग गरिएको र अवस्था क्रमशः सामान्य बन्दै गएको बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाबीच वार्ताको तयारी भइरहेको छ । स्थानीयले भने लेनदेनको विवादका कारण गोली चलाइएको दाबी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । अहिले लौकही क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । प्रशासनले शान्ति कायम गर्न सहयोग गर्न सबै पक्षलाई आग्रह गर्दै घटनाको छानबिन अघि बढाउने जनाएको छ ।

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन {तस्वीरहरु}

काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोलाको किनारमा थप २० मिटर खाली छाड्नु पर्ने सर्वोच्च अदालतको आदेश र त्यसको कार्यान्वयनका लागि काठमाडौं महानगरपालिकाले जारी गरेको सूचनाविरुद्ध प्रभावित स्थानीय बासिन्दाले आन्दोलन चर्काएका छन् । बिहीबार माइतीघर मण्डलासहित विभिन्न स्थानमा खोला किनारका बासिन्दा सडकमा उत्रिँदै मापदण्ड खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

‘गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति’ को आयोजनामा भएको प्रदर्शनमा बागमती, विष्णुमती, मनोहरा लगायत उपत्यकाका विभिन्न नदी–खोलाको किनारमा बसोबास गर्दै आएका पीडित सहभागी थिए । उनीहरूले ‘फैसला होइन, न्याय देऊ’, ‘मापदण्डका नाममा जनता विस्थापित गर्न पाइँदैन’, ‘जनतालाई उठिबास गराउने गैरन्यायिक खोला मापदण्ड खारेज गर’ जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

प्रदर्शनकारीहरूको भनाइमा खोला किनारको नाममा लागू गरिएको थप २० मिटर मापदण्डले हजारौँ सर्वसाधारणको घरबार जोखिममा पारेको छ । वर्षौदेखि भोगचलन गर्दै आएको जग्गा तथा घरमा बस्न नपाउने अवस्था सिर्जना भएको भन्दै उनीहरूले यसलाई गैरन्यायिक र एकपक्षीय निर्णयको संज्ञा दिएका छन् । उनीहरूका अनुसार उचित विकल्प, मुआब्जा वा पुनःस्थापनाको व्यवस्था नगरी मापदण्ड कार्यान्वयन गरिनु जनताको मौलिक हकविरुद्ध छ । उल्लेखनीय छ, करिब दुई वर्षअघि नदी क्षेत्र संरक्षणका नाममा सर्वोच्च अदालतले बागमती, विष्णुमती, मनोहरा लगायत काठमाडौं उपत्यकाका ठूला नदी तथा खोलाको किनारबाट थप २० मिटर क्षेत्र खाली राखेर मात्र संरचना निर्माण गर्न आदेश दिएको थियो ।

त्यसअघि नै मन्त्रिपरिषद्ले पनि २० मिटर जग्गा छाड्नु पर्ने निर्णय गरिसकेको थियो । सर्वोच्चको आदेश कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिकाले सम्बन्धित क्षेत्रका लागि सूचना जारी गरेपछि खोला किनारमा बसोबास गर्ने सर्वसाधारण थप आक्रोशित बनेका हुन् । पीडित संघर्ष समितिले खोला संरक्षणको नाममा जनतालाई विस्थापित गर्ने नीति स्वीकार्य नहुने भन्दै उक्त मापदण्ड तत्काल खारेज गर्न माग गरेको छ । माग सुनुवाइ नभए आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजाने चेतावनी पनि उनीहरूले दिएका छन् ।
तस्वीरहरु

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच आज सिंहदरबारमा वार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसहित सरकार र र दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानबीच आज (बिहीबार) वार्ता हुने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो १ बजे वार्ता हुने स्रोतले जनाएको छ । वार्तामा सरकार पक्षबाट प्रधानमन्त्री कार्की स्वयं उपस्थित हुने कार्यक्रम छ । यसअघि पुस १ गते प्रसाईं समूहले सरकारद्वारा गठित वार्ता समितिसँग वार्ता गरेको थियो ।

त्यसपछि आज प्रसाईंले प्रधानमन्त्रीसँगै वार्ता गर्न लागेको हो । त्यसो त पुस १५ गते प्रसाईंले प्रधानमन्त्री कार्कीसँग भेट गरिसकेका छन् । त्यस बेला प्रधानमन्त्री कार्कीले प्रसाईंलाई मुलुकमा शान्ति र अमनचैन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन रहेकाले यसमा सहयोग गर्न आग्रह गरेकी थिइन् । सरकारले राजनीतिक वातावरण बनाएर सहज रूपमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला पक्षसँग वार्ता र संवाद गरिरहेको हो । यसअघि प्रसाईंले १२ मंसिरमा सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका थिए । सो भेटमा प्रसाईंले अहिलेको व्यवस्था खारेज हुनुपर्ने लगायतका २७ बुँदे माग बुझाएका थिए ।

रास्वपा सहमहामन्त्रीमा भुपदेप शाहको चर्चा, अछाम- २ बाट चुनावमा उम्मेदवारी दिने तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका प्रमुख सल्लाहकार भुपदेव शाह रास्वपाको सहमहामन्त्री बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र मेयर बालेनको त्रिपक्षीय एकता गराउनमा भूमिका खेलेका शाहलाई महामन्त्री बनाउन बालेनले लविङ गरिरहेका छन् । 

साथै, शाहलाई अछाम निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको उम्मेदवार बनाउने रास्वपाको तयारी छ । यसैको लागि शाहले अहिले राजनैतिक भेटघाटलाई पनि तिव्र बनाएका छन् । 

शाह त्रिपक्षीय एकता गराउन भूमिका खेलेको वार्ता समितिका सदस्य थिए । अहिले रास्वपाको सहमहामन्त्री पद रिक्त छ ।    

वसन्तपुरमा यसरी मनाइयो राष्ट्रिय पोसाक र टोपी दिवस (तस्वीरहरु)

काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन राष्ट्रिय पोसाक र टोपी दिवस देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ । यस वर्ष ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ १३औँ राष्ट्रिय पोसाक र टोपी दिवस विभिन्न युवा संस्थाहरूको आयोजनामा काठमाडौंको वसन्तपुरमा मनाइयो ।

कार्यक्रममा सहभागीहरूले नेपाली दौरा–सुरुवाल, ढाका टोपी र गुन्यु–चोली लगाएर नाचगान गर्दै एक–अर्काबीच शुभकामना आदान–प्रदान गरेका छन् । नेपाली पहिचानका प्रतीक दौरा–सुरुवाल, ढाका टोपी र गुन्यु–चोलीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले वि.सं. २०७० देखि सुरु गरिएको यो अभियान हरेक वर्ष जनवरी १ तारिखमा मनाइँदै आएको छ । पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालमार्फत यसको व्यापक प्रचार–प्रसार भइरहेको छ ।
तस्वीरहरू : बिजेन आमात्य / नेपाल फोटो लाइब्रेरी

डाइभर्सनको भरमा चल्दै बीपी राजमार्ग {तस्वीरहरु}

काठमाडौं । गत वर्षको असोज दोस्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) को कटुञ्जेबेशी, मंगलटार, नेपालथोक सडकखण्ड डाइभर्सन बनाएर सञ्चालनमा छ । बाढीले सडक नै बगाएपछि यो वर्षदेखि खोलामै अस्थायी सडक बनाएर सवारी आवत जावत भइरहेको छ । खोलाबाट नै बनाइएको सडकबाट यात्रा गर्दा जोखिम त छ नै यात्रुलाई क्षतिग्रस्त खण्ड पार गर्न लाग्ने समय पनि बढेको छ ।

अझ धुलाम्य सडक खण्डमा उड्ने धुलो नियन्त्रण गर्न पानी हाल्दा सडकमा सवारी चिप्लिने र दुर्घटना हुने सम्भावना पनि बढी छ । यो राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि भने करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले बीपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न खण्डमा पुनर्निर्माण गर्न सो रकम खर्च हुने अनुमान गरेको भए पनि पुनर्निर्माणका लागि अझै स्रोत सुनिश्चित भएको छैन ।

सो राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडक खण्डमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १ सय ६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्ड–खण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ : झलनाथ खनाल

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नेपाललाई योजनाबद्धरुपमा युक्रेन जस्तै बनाउने षड्यन्त्र भइरहेको भन्दै सबै वामपन्थी र कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् । अंग्रेजी नयाँ वर्षको शुभकामना सन्देश दिँदै खनालले जेन्जी आन्दोलनका नाममा देशलाई महाविपत्तिको अवस्थामा लगिएको र यसमा पश्चिमा शक्ति अनि नेपालभित्रका उनीहरुका मान्छे संलग्न रहेको आरोप समेत लगाएका छन् ।

खनालले भनेका छन्, ‘अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरु र देशभित्रका उनीहरुका दलालहरु नेपाललाई युक्रेन बनाउन योजनाबद्ध ढंगले लागेका छन् । उनीहरु नेपाली जनतालाई सबै नेताका विरुद्ध, नेपाली समाजलाई परिवर्तन गर्दै आइरहेका पार्टीहरुको विरुद्ध, देशका विरुद्ध र समाजवादका विरुद्ध विदेशी पैसा र प्रलोभनका आधारमा दुष्प्रचार गरिरहेका छन् र मुलुकलाई हिंसा र बिध्वंशतिर लान खोज्दै छन् ।’

सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा बुधबार राति सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक स्थानीय सफारी चालकको मृत्यु भएको छ । तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको ज्यान गएको हो । भारतबाट आफ्नो सिटी सफारीमा ८–१० बोरा चिनी लोड गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा राति करिब १ः१० बजे साहमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटनापछि आक्रोशित स्थानीय बासिन्दाले सशस्त्र प्रहरीविरुद्ध प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूले दोषीलाई कारबाही माग गर्दै मृतकको शव उठाउन दिएका छैनन्, जसका कारण घटनास्थलमा तनावपूर्ण स्थिति सिर्जना भएको छ । अहिले सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ र घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काले जनाएका छन् ।

यस विषयमा सशस्त्र प्रहरी बल, इटहरीका डीआइजी कुमार न्यौपानेले राति सामान लिएर आउँदै गरेका दुईवटा अटो र एउटा ई–रिक्सालाई ड्युटीमा खटिएका प्रहरीले रोक्न खोज्दा झडप भएको दाबी गरेका छन् । तस्कर समूह रोकिनुको सट्टा सशस्त्र प्रहरीलाई नै ठक्कर दिएर भाग्न खोजेपछि आत्मरक्षाका लागि जवाफी कारबाही गर्दा साहलाई गोली लागेको उनको भनाइ छ । झडपमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका जवानहरू नवीन खड्का र युगराज खतिवडा समेत घाइते भएको जानकारी प्राप्त भएको उनले बताए ।

यथास्थितिमा सीमित सोंच र परिवर्तनको चाहनाबीचको संघर्ष जारी छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिम्मेवार ढङ्गले परिवर्तनको पक्षमा अघि बढ्नुपर्ने बताएका छन् । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘देश र जनताप्रतिको जिम्मेवारीप्रति सचेत रहँदै नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सबल र दुर्बल पक्षहरूको समीक्षासहित सच्चिएर अघि बढ्ने प्रतिबद्धतालाई व्यवहारमा उतार्दै अघि बढिरहेको छ । यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबीचको संघर्ष अझै जारी छ । अहिले हामी जिम्मेवार ढङ्गले परिवर्तनको पक्षमा अघि बढ्नुपर्ने आवश्यकता छ ।’

नयाँ वर्ष २०२६ ले नयाँ आशा, ऊर्जा र संकल्प लिएर आउने विश्वासका साथ यो वर्ष सबै नेपालीका लागि राजनीतिक स्थिरता, सुख, शान्ति, समृद्धि र सफलताको वर्ष बनोस् भन्ने कामना पनि उनले गरेका छन् ।

उनले भने, ‘हामीबाट बिदा भएको वर्ष सन् २०२५ मा जेन–जी युवापुस्ताको आन्दोलनले राजनीतिक परिवर्तनको नयाँ अध्यायको संकेत गरेको छ । यसले पुराना संरचना, कार्यशैली र परिपाटीमा गम्भीर सुधारको आवश्यकता स्पष्ट पारेको छ । साथै, संविधान निर्माणका बेला तत्कालीन शक्ति–सन्तुलनका कारण फरक मतका रूपमा अघि सारिएका हाम्रा एजेन्डाहरूको औचित्य पनि यसले पुष्टि गरेको छ।यो तरल राजनीतिक परिस्थितिमा अग्रगामी शक्तिहरूबीच आपसी समझदारी र राष्ट्रिय एकता आजको महत्वपूर्ण आवश्यकता बनेको छ । वर्तमान संकटको सकारात्मक निकासका लागि राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो ।’

‘देश र जनताप्रतिको जिम्मेवारीप्रति सचेत रहँदै नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सबल र दुर्बल पक्षहरूको समीक्षासहित सच्चिएर अघि बढ्ने प्रतिबद्धतालाई व्यवहारमा उतार्दै अघि बढिरहेको छ । यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबीचको संघर्ष अझै जारी छ । अहिले हामी जिम्मेवार ढङ्गले परिवर्तनको पक्षमा अघि बढ्नुपर्ने आवश्यकता छ,’ प्रचण्डले थप भनेका छन् ।

यी हुन् एमालेका ११० समानुपातिक उम्मेदवार (नामावलीसहित)

काठमाडौं । नेकपा एमालेका समानुपातिकतर्फका सम्पूर्ण उम्मेदवारहरूको सूची सार्वजनिक भएको छ । एमालेले सोमबार राति नै आयोगमा सूची बुझाएको भए पनि बुधबार साँझ मात्रै यो सूची सार्वजनिक गरेको हो ।

एमालेले बुझाएको समानुपातिक सूचीमा समुचित प्रतिनिधित्व नभएको, यसअघि समानुपातिक सांसद भइसकेकाहरूलाई पनि उम्मेदवारका रूपमा समावेश गरिएको भन्दै पार्टीभित्रै विरोध भइरहेको छ । त्यसो त उपाध्यक्ष गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराईले प्रस्ताव गरेका केही नाम बेवास्ता गरेर एकतर्फी रोस्टर बनाइएको भन्दै असन्तुष्टि पनि बढेको छ ।

हेर्नुस् सूची

खस आर्य महिला :

पद्मा अर्याल, टुकाभद्रा हमाल, निरुदेवी पाल, कोमल वली, नर्वदादेवी सिवाकोटी, एञ्जिला थापा, मेनुका काफ्ले, लता प्रसाईं, एशुदाकुमारी बराल, लीलाकुमारी भण्डारी, सानुमैया खड्का, नारायणकुमारी खनाल, प्रभा बराल (पौडेल), क्रान्ति बुर्लाकोटी, कल्पना शर्मा जोशी, विजया धिताल, भागिरथी कुमारी चन्द ।

खस आर्य पुरुष

गुरुप्रसाद बराल, पुष्पराज कँडेल, गोरखबहादुर बोगटी, नरेशप्रसाद पोखरेल, प्रेम पराजुली, पर्शुराम अधिकारी, लालबहादुर महतारा, रामबहादुर थापा (स्याङ्जा), हरिशंकर योगी, बालाराम शर्मा, दुर्गाबहादुर शाही, दीपकबहादुर पौडेल, ठानेश्वरप्रसाद बस्याल, लालबहादुर रावल, डफकुमार बास्तोला, बमबहादुर बिसी ।

आदिवासी जनजाति महिला :

भूमिका लिम्बू सुब्बा, गंगादेवी श्रेष्ठ, अनिता कन्दङ्वा, उषाकला राई, तारादेवी गुरुङ, लक्की शेर्पा, मौसम राई, नरदेवी पुन, भक्तकुमारी लामा, मीना बराम, यमुना घले, मनकुमारी तितुङ, कान्ता राई, शर्मिला गुरुङ, सुमित्रा राजवंशी, हरुसरा राना।

आदिवासी जनजाति पुरुष

रामबहादुर थापा मगर, कुलभक्त शाक्य, युद्धभक्त चित्रकार, इन्द्रबहादुर तामाङ, सोनाम छिरिङ लामा, विद्यानन्दसिंह राजवंशी, सन्तबहादुर प्रजा, बागलाल बुढा मगर, ओमबहादुर घर्ती मगर, जेहेन्द्र सिंह ऐतवाल ९सौका०, प्रेम घले, दलबहादुर गुरुङ, विजयसिंह लामा तामाङ, नवीन रोक्का मगर, विषमलाल अधिकारी दनुवार र राजकुमार श्रेष्ठ ।

मधेसी महिला

रिगला यादव, यशोधाकुमारी यादव, वीणाकुमारी साह, शर्मिलाकुमारी यादव, मन्जु महतो, अंशु सिंह, बविता दास, आशा यादव ।

मधेसी पुरुष

चन्देश्वर मण्डल, अरविन्द साह, रामचरित्र साह, राजेश अग्रवाल, सुशीलकुमार श्रीवास्तव, चन्देश्वर यादव, अनिलकुमार सिंह, विचारीप्रसाद यादव र सचिदानन्द साह ।

दलित महिला

विष्णुमाया विक, नीता घतानी, राधिका भुजेल साकी, अञ्जु नेपाली, मायादेवी पोडेनी, उर्मिलादेवी पासमान, मैना अछामी र सावित्रा घिमिरे ।

दलित पुरुष

जितबहादुर दर्जी गौतम, यमबहादुर परियार, मनोहर विश्वकर्मा नेपाली, निर्मल देउला पोडे, सोम पोर्तेल, बोमबहादुर विश्वकर्मा र जगबहादुर नेपाली ।

थारु महिला

मञ्जुकुमारी चौधरी, शान्ता चौधरी, इच्छाकुमारी चौधरी र असरादेवी चौधरी ।

थारु पुरुष

कृपाराम राना, शिवप्रसाद चौधरी र जजीर प्रसाद चौधरी ।

मुस्लिम महिला

साजिदा खातुन सिद्धिकी, रुही नाज र रोजीरन खातुन ।

मुस्लिम पुरुष

मोहम्मद हारुन हलवाई र एकवाल मिया ।

बालेनका पिए रास्वपाको सहमहामन्त्री बन्दै, अछाम–२ बाट उम्मेदवार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) का प्रमुख स्वकीय सचिव भूपदेव शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री बन्ने तयारीमा रहेका छन् । बालेन निकट स्रोतका अनुसार रास्वपाको आगामी संगठनात्मक संरचनामा शाहलाई सहमहामन्त्रीको जिम्मेवारी दिने विषयमा आन्तरिक सहमति जुट्दै गएको छ ।

रास्वपामा समाहित हुने प्रक्रियाका क्रममा शाह बालेनका तर्फबाट वार्ता समितिमा समेत सक्रिय रहेका थिए । सोही पृष्ठभूमिमा बालेनको सिफारिसमै शाहलाई सहमहामन्त्री बनाउने तयारी भएको स्रोतको दाबी छ । पार्टीभित्र संगठन विस्तार र रणनीतिक भूमिकामा शाहलाई अघि सार्ने योजना रहेको बताइएको छ ।

यससँगै भूपदेव शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्ने तयारीमा पनि छन् । उनले रास्वपाको ‘घण्टी’ चुनाव चिह्न लिएर उम्मेदवारी दिने तयारी गरिरहेको र त्यसका लागि स्थानीय तहमा संगठन विस्तार तथा चुनावी रणनीति निर्माणका काम तीव्र बनाइएको जनाइएको छ । अछाम शाहको जन्मस्थान समेत हो ।

२०७९ को स्थानीय तह निर्वाचनमा बालेन साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि भूपदेव शाहलाई प्रमुख स्वकीय सचिवको जिम्मेवारी दिइएको थियो । त्यसयता शाह बालेनका सबैभन्दा विश्वासिला सहयोगीका रूपमा परिचित छन् । बालेनका विभिन्न नीतिगत तथा प्रशासनिक निर्णयमा शाहको प्रभावकारी भूमिका रहने गरेको निकटस्थहरू बताउँछन् ।

केही दिनअघि मात्र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीच दुई पक्षीय राजनीतिक सहमति भएको थियो । सो सहमतिपछि बालेन–रास्वपा सम्बन्ध थप नजिकिएको विश्लेषण भइरहेका बेला भूपदेव शाहको सहमहामन्त्री बन्ने तयारी र प्रतिनिधिसभा उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

समानुपातिकको विडम्बना : लक्षित समुदाय छुट्याे, सम्बन्ध हावी हुँदै गयो

समानुपातिकको सैद्धान्तिक अवधारणा भनेको जनसंख्या, भूगोल र संस्कृतिको आधारमा जो जहाँ छन्, जो–जसले राज्यको निर्णय प्रक्रियामा हिस्सा लिन पाएका छैनन्, तिनलाई ल्याएर राज्यको शासन–प्रशासनको मूलधारमा ल्याउन अपनाइएको सैद्धान्तिक बाटो हो ।

०६२/६३ को जनआन्दोलनपछि समानुपातिक प्रणालीकै कारण हामीले कहिल्यै नसुनेका समुदायका मानिसहरू पनि संसद्‍मा देख्यौँ । त्यस हिसाबले यो राजनीतिक शक्तिको आधारमा नभई देशको भूगोलभित्र बसेको सबै मान्छेलाई शासन–प्रशासनको निर्णय प्रक्रियामा पुर्‍याउनुपर्छ भन्ने अवधारणको आधारमा नेपालमा अंगिकार गरेका हौँ ।

तर, ०६२/६३ पछि जसरी हामीले निरन्तर समानुपातिक प्रतिनिधित्वको अभ्यास गर्‍यौँ, त्यो राजनीतिक सहमतिजस्तो रूपमा सुरु भएको थियो । २०६४ पछि हामीले जति निर्वाचनहरू भोग्यौँ, ती भोग्दै आउँदा समानुपातिकबाट सांसद छनोट पहिले दलको तजविजमा र पछि नेताको तजविजमा पुग्यो । यसरी साघुरिँदै गयो । आजसम्म आइपुग्दा समानुपातिक प्रतिनिधित्वमाथि जुन प्रश्‍न उठिरहेको छ, जसरी बहस भइरहेको छ, त्यसको मूल जड के हुनुपर्ने हो ? त्यो कसको लागि हो भन्‍ने कुरा बिर्सिँदै आउँदाखेरिको परिणाम अहिले देखिएको हो ।

हालै राजनीतिक दलहरूले जसरी समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाए, त्यसले सिर्जना गरेको बहस के हो भने हामी संस्थागत अभ्यासबाट च्युत हुँदै व्यक्तिको तजविजमा जाँदा यस्तो अवस्था आएको हो ।

लोकतान्त्रिक देशमा समानुपातिक प्रतिनिधित्व अभ्यास संसद्का लागि प्रतिस्पर्धा गर्ने राजनीतिक दलहरूले गर्ने हो । त्यही राजनीतिक दलहरूले विभिन्‍न समुदाय, लिङ्‍ग, वर्ग, क्षेत्र, सांस्कृतिक पृष्ठभूमि वा पेशागत पृष्ठभूमिका मानिसलाई लिएर आउनुपर्ने हो ।

तर, ती दलहरूले नै संस्थागत अभ्यासलाई च्यापिदिए । अभ्यास नै गरेनन् । गर्नै छोडेपछि दलको बलियो नेतालाई चाहिने मान्छे, बलियो नेतालाई खुसी पार्न सक्ने मान्छे, ऊसँग नजिकको सम्बन्ध भएको मान्छे आउनु स्वाभाविक नै हो । यसरी हामीले संस्थागत पद्धतिको त्याग गर्‍यौँ ।

त्यसलाई बचाइराख्‍न पहिला जुन सैद्धान्तिक धारामा बसेर हामीले अभ्यास गर्न खोज्दै थियौँ, त्यसको संस्थागतकरण नै हो । संस्थागत भइसकेपछि त्यसले बाटो लिन्छ । तर, बीचमै हामीले त्यसलाई संस्थागत हुनै दिएनौँ ।

एउटा शक्ति समूहको तजविजमा पुर्‍याइँदा संस्थागत हुन नपाउँदै समानुपातिकको सामाजिक मर्म, भूगोलको मर्म, वा यसको सैद्धान्तिक जगबाट बाङ्‍गिदै आयो । अन्ततः समानुपातिक भन्‍ने कुरा शब्दमा मात्रै खुम्चियो, अभ्यासबाट टाढा गयो ।

यसले गर्दा अहिले जुन समुदायको प्रतिनिधित्व हुनुपर्ने थियो, जुन समुदायलाई बोकेर संसद्सम्म पुर्‍याउनुपर्ने थियो, त्यसो हुन सकेन । यो प्रणाली त राजनीतिक रूपमा जित्‍न नसक्ने, संगठन गर्न नसक्ने, दल खोल्न नसक्ने, दलमा प्रभाव जमाउन नसक्ने मानिसहरूका लागि ल्याइएको हो । तर, यस विपरीतको अभ्यासले समानुपातिकको आधार नै कमजोर भयो ।

व्यक्तिकेन्द्रित अभ्यासले त समुदाय, समाज, भूगोल, लिङ्‍ग, वर्ग सबै छुटाएर व्यक्तिगत सम्बन्धलाई समानुपातिक प्रणालीमा प्राथमिकता दिइरहेको छ । यसले समानुपातिकको आधार नै गुमायो ।

अर्को कोणबाट बहस गर्न नसकिने होइन गर्न सकिन्छ । संसद्‍मा गएर ऐन–कानुन र नीति बनाउने कामका लागि जुनसुकै समुदाय वा वर्गबाट प्रतिनिधित्व गरे पनि विषय बुझ्‍न सक्ने, सैद्धान्तिक धरातलमा सोच्न सक्ने, देश–विदेशको सन्दर्भ जोड्न सक्ने र नीति बनाउँदा आफ्नो समुदाय, वर्ग, लिङ्‍ग वा क्षेत्रका लागि के राम्रो हुन्छ भनेर केलाउन सक्ने मान्छे पनि चाहिन्छ ।

त्यो हिसाबले सक्षम व्यक्तिहरू आउनु व्यावहारिक रूपमा ठिकै हो । तर, अहिले राजनीतिक दलहरूले जे गरे, त्यसले विज्ञता वा क्षमताभन्दा व्यक्तिगत सम्बन्ध बढी हावी भयो । त्यसैले समानुपातिकको बन्दसूची विवादित भयो ।

चन्द्र ढकाल, विदेशी राणा, औद्योगिक घराना, कलाकार, इन्फ्लुयन्सर, मिस नेपालहरू समानुपातिक सूचीमा पर्दा प्रश्‍न उठ्नु स्वाभाविक हो । तर, संविधानले तोकेका क्लस्टरभित्र निजी क्षेत्र, कला–संस्कृति क्षेत्र पनि पर्छन् भने तिनको प्रतिनिधित्व पूर्ण रूपमा गलत भन्‍न मिल्दैन ।

उसो त समाज समयसँगै बदलिन्छ । १५ वर्षअघि समानुपातिक प्रणाली ल्याउँदा समाज जस्तो थियो, आज उस्तै छैन । हिजोका सिमान्तकृत परिवारका बच्चाहरू आज शिक्षामा अगाडि बढिसकेका छन् । अधिकारका कुरा उठाउन सक्ने भएका छन् । त्यसैले हिजोकै चरित्रको प्रतिनिधित्व खोज्‍नु जायज छैन ।

तर, जेन–जी आन्दोलनबाट आएको बलिदान बेवास्ता गर्न मिल्दैन । ७६ जनाले ज्यान गुमाएको आन्दोलनबाट केही पीडित परिवार संसद्सम्म पुगेको भए सामाजिक सन्देश फरक हुन्थ्यो । त्यो भएन । यसले सामाजिक लागत बढाएको छ ।

अब सुधार कहाँबाट ?

पहिलो, समानुपातिक छनोट पार्टी मुख्यालयको बन्द घेराबाट बाहिर ल्याउनुपर्छ । सैद्धान्तिक रूपमा स्वायत्त निकायको परिकल्पना गर्नुपर्छ ।

दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक निर्वाचन मोडेल राम्रो प्रयास हो तर प्राविधिक र संरचनागत कमजोरी छन् । राज्यले सुरक्षित डिजिटल प्रणालीमा सहजीकरण गर्न सक्छ ।

तेस्रो, केन्द्रबाट थोपर्ने भन्दा पनि समुदाय, जिल्ला र पेशागत संगठनलाई जिम्मा दिनुपर्छ ।

जस्तो : म गुरुङ समुदायको हुँ । गुरुङ समुदायसम्बद्ध पार्टी संगठनलाई ‘तपाईंहरूबाट को पठाउने ?’ भनेर जिम्मा दिइयो भने अहिलेको भन्दा छरितो र न्यायपूर्ण हुन सक्छ ।

 

राष्ट्रियसभा निर्वाचनका लागि जनकपुरधाममा कार्यालय स्थापना

महेन्द्रनगर । मधेस, प्रदेशको राष्ट्रियसभाको निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज सो कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले जानकारी दिए । सो कार्यालयबाट उम्मेद्वारी दर्ता, मतदान व्यवस्थापन, मतगणना र निर्वाचनसम्बन्धी काम हुने बताइएको छ । सो कार्यालयको स्थापनापछि मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनको औपचारिक प्रक्रिया अघि बढेको उहाँले बताए ।

निर्वाचन आयोगका अनुसार मधेश प्रदेशमा हाल ३७९ जना मतदाता छन् । ती मतदाताको कूल मतभार १० हजार ८३९ रहेको छ । मतदातामध्ये प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षहरू समावेश छन् । प्रदेश सभातर्फ १०७ सदस्य मतदाता छन् । प्रत्येक प्रदेशसभा सदस्यको मतभार ५३ कायम गरिएको छ । यसअनुसार प्रदेशसभा सदस्यतर्फको कूल मतभार पाँच हजार ६७१ रहेको निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख गरी २७२ जना मतदाता छन् । उनीहरूको मतभार १९ कायम गरिएको छभने स्थानीय तहका जनप्रतिनिधितर्फको कूल मतभार पाँच हजार १६८ रहेको छ ।

हाल मतदाता नामावली अन्तिम चरणमा पुगेको भए पनि केही कानुनी र प्रशासनिक कारणले अन्तिम नामावली प्रकाशित हुन सकेको बताइएको छ । मुख्य निर्वाचन अधिकृत पुरीका अनुसार निर्वाचन आयोगले आगामी १९ गते मतदाता नामावली सार्वजनिक गर्ने तयारी गरेको छ । अन्तिम नामावली प्रकाशित भएपछि मात्र मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि यकिन मतदाताको सङ्ख्या र कूल मतभार स्पष्ट हुनेछ । आयोगको कार्य तालिकाअनुसार माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुनेछ ।

अवसर पाउँदा पाउँदै छोडेकाे हो, नयाँ रास्वपालाई शुभकामना : सुमना श्रेष्ठ

काठमाण्डाैँ । पूर्व शिक्षा मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्व सांसद सुमना श्रेष्ठले कुलमान, बालेन र रवि लामिछानेबीच एकता भएर बनेको रास्वपालाई आगामी राजनैतिक यात्राको लागि शुभकामना दिएकी छिन् । उनले जेनजी विद्रोह लगत्तै रास्वपा परित्याग गरेकी थिइन् । 

जेनजी विद्रोहपछि सबै वैकल्पिक र नयाँ राजनीतिक शक्तिहरू एक भएर जानुपर्ने माग उठेको थियो। यही दबावबीच बालेन्द्र शाह ‘बालेन’, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र रास्वपाको त्रीपक्षीय एकता भएपछि  उनले शुभकामना दिएकी हुन् ।  साथै, त्रिपक्षीय एकता गर्नमा भूमिका खेल्ने सबैलाई धन्यवाद पनि दिएकी छिन् ।

फेसबुकमा स्टाटस लेख्दै ‘नयाँ रास्वपालाई शुभकामना छ’, उनले भनिन्,जनताको चाहना बलियो नयाँ शक्ति थियो, छ र त्यसका लागि पहल गर्ने सबैलाई धन्यवाद छ।’

यस्तै उनले आफुले रास्वपामा कहिल्यै पनि अवसरको राजनीति नगरेको पनि प्रष्ट पारिन् । युवाहरूका लागि देशमै समान अवसर बनाउने र नेपालीलाई नेपालीमात्र भएर बाँच्न सक्ने अवसर बनाउने बाहेक आफ्नो कुनै एजेण्डा नभएको दाबी गरेकी सुमनाले आफूले रास्वपा छोडेको अवसर नपाएर नभएको बताइन् ।

७८ लाख घुसकाण्डमा पूर्वमन्त्री गुप्तालाई जेलवास

काठमाडौं। विशेष अदालतले पूर्वसामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्‍न श्रेष्ठ र विदूर कोइरालाको इजलासले पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन आदेश दिएको हो । अदालतको यो आदेशसँगै पूर्वमन्त्री गुप्ताको जेलबास हुने भएको छ ।

२२ असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्तासँगै पूर्वमन्त्री रञ्‍जिता श्रेष्ठ चौधरीलगायत छ जनाविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको थियो ।

पोखराको बाटुलेचौरस्थित लिची बगैँचाको १ सय ३४ रोपनी जग्गा हडप्‍न खोज्‍ने बिचौलियासँग घुसवापत ७८ लाख रुपैयाँ लिएको उनको अडियो मन्त्री छँदै बाहिरिएको थियो ।

यसपछि राजीनामा दिन उनलाई चौतर्फी दबाब पर्‍यो । प्रतिनिधिसभामा तत्कालीन विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायतले मन्त्री गुप्तालाई पदबाट हटाउन त्यसबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब बढाए ।

मन्त्री गुप्ताको राजीनामा मागे । अन्ततः ओलीको निर्देशनमा उनले राजीनामा दिए ।

यही प्रकरणमा तत्कालीन भूमि सुधारमन्त्री बलराम अधिकारी पनि मुछिए । तर, उनले राजीनामा दिनु परेन ।

त्यसलाई लिएर विपक्षी दलहरूले आरोप लगाए– प्रधानमन्त्रीको आशीर्वाद मन्त्री अधिकारीमाथि भयो ।’

लिचीबारी प्रकरण ठूलो भ्रष्टाचारकाण्ड हो । पूर्वमन्त्री रञ्‍जिता श्रेष्ठ चौधरी पनि यो प्रकरणमा जोडिएकी छिन् ।

हाल उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा पुगेकी छिन् ।

उनी नेकपाबाट आगामी प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फको बन्दसूचीमा परेकी छिन् ।

गोकर्णेश्वरमा नक्कली प्रहरी पक्राउ

काठमाडौँ । गोकर्णेश्वरमा नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् ।

नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलको खानतलासी गरी रकम असुली गर्ने सिन्धुपाल्चोकका ३७ वर्षीय नानीबाबु लामा र दोलखाका ३४ वर्षीय प्रकाश तामाङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गोकर्णेश्वर नगरपालिका–६ स्थित औषधि पसलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनीहरूलाई आज काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको काठमाडौँ प्रहरीका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । यसैबीच, प्रहरीले बाफलबाट करिब रु चौध लाख सन्तानब्बे हजार पाँच सय भन्सार छलीका सामान बरामद गरेको छ । धनगढीबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ८४९५ नम्बरको बसमा भन्सार छलि गरी ल्याइएका मोबाइलका विभिन्न सामग्री बरामद गरेको हो ।

प्रहरीले सो बसका चालक कञ्चनपुरको बेलौरी नगरपालिका–६ का २५ वर्षीय महेश चौधरीलाई नियन्त्रणमा लिएको छ । प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान पश्चात् पक्राउ परेको व्यक्ति र सामन त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइएको काठमाडौँ प्रहरीले जनाएको छ ।

पाँच दिने सेकाहा महोत्सव सम्पन्न

किमाथाङ्का ।  खाँदबारी नगरपालिका–४ स्थित ऐतिहासिक तथा पर्यटकीय गाउँ सेकाहामा पाँच दिने ‘ऐतिहासिक सेकाहा महोत्सव’ समापन भएको छ ।

शुक्रबारदेखि स्थानीय कला, संस्कृति र पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यका साथ सुरु भएका महोत्सव आज सम्पन्न भएको हो । महोत्सवको समापनमा कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारले सहुलियत दिन तयार रहेको बताए । त्यसैगरी आदिवासीको भाषा संस्कृति संरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्ने मन्त्री राईले प्रतिबद्धता जनाए ।

सेकाहा सामुदायिक विकास क्लबको आयोजनामा सम्पन्न महोत्सवमा सङ्गीतिक कार्यक्रम, सेकाहा गाउँ तथा पर्यटकीय क्षेत्रको अवलोकन, पर्यटन प्रवर्द्धन तथा होमस्टे निरीक्षण, विभिन्न जातजातिको झाँकी प्रदर्शन, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी गरिएको थियो । सेकाहामा गुरुङ समुदायको बाक्लो बस्ती छ । गुरुङ समुदायको मुख्य पर्व तमू ल्होसारको अवसर पारेर महोत्सव आयोजना गरिएको थियो । महोत्सव २० हजार बढी दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।

अपेक्षा गरेभन्दा दोब्बरले गरे बन्दीपुर भ्रमण

बन्दीपुर । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढाउन सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको बन्दीपुरमा छ लाख ३४ हजार पर्यटक पुगेको संयोजक बैंसबहादुर गुरुङले जानकारी दिए ।

बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक गुरुङका अनुसार यस अवधिमा एक लाख विदेशीसमेत गरी चार लाख ५३ हजार पर्यटक बन्दीपुरमा बास बसेका थिए । उनले बन्दीपुरमा वजभोज खान आउने, घुमेर फर्किने पर्यटकको सङ्ख्या करिब दुई लाखभन्दा केही कम रहेको जानकारी दिए ।

बन्दीपुरमा सन् २०२५ र २०२६ मा गरी पाँच लाख पर्यटक बन्दीपुर भित्र्याउने योजना रहेकामा सन् २०२५ मा नै पूरा भएका स्थानीय होटल तथा पर्यटन व्यावसायी खुसी भएका छन् । “दुई वर्षमा पाँच लाख ल्याउने भनेर सोचेका थियौँ, तर एक वर्षमा नै लक्ष्य पूरा भयो”, भ्रमण वर्ष संयोजक गुरुङले भने, “काठमाडौँबाट पोखरा, पोखराबाट चितवन वा काठमाडौँ र चितवनबाट पोखरा जाँदा, आउँदा एकपटक बन्दीपुर बसौँ भन्ने भावना बढेको पायौँ ।” आँबुखैरेनी–पोखरा सडक विस्तारको काम लगभग सकिने चरणमा पुग्दा पर्यटकलाई बन्दीपुर आउन पनि सहज भएको व्यवसायीको भनाइ छ । भ्रमण वर्षमा बन्दीपुरको प्रचारप्रसारको काम पनि राम्रो भएकाले पर्यटक बन्दीपुर आएको विश्वास उनीहरुको छ ।

बन्दीपुर होटल सङ्घ अध्यक्ष फूलमती थापाले भ्रमण वर्षमा आउने पर्यटकलाई कुनै पनि प्रकारको असुविधा नहोस् भनेर सबै होटल व्यवसायी अति नै जिम्मेवारपूर्ण ढङ्गले व्यवस्थापनमा लागेको बताए । स्थानीय रैथाने खानादेखि अतिथि सत्कारले पर्यटक खुसी बनेको उल्लेख गर्दै  भ्रमण वर्षबाट यहाँका होटलले आफूलाई अझै स्तरोन्नति गर्ने र सुविधा थप्दै लैजाने सोचको विकास गरेको उल्लेख गरे ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बन्दीपुर भ्रमण वर्षको प्रवर्द्धन तथा अन्य सहयोगमा पालिकाले सक्दो सहयोग गरेको बताए । बन्दीपुरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा चिनाउनका लागि भ्रमण वर्ष निकै सार्थक र फलदायी भएको थापाको भनाइ छ ।उनले बन्दीपुरको प्राकृतिक सुन्दरता र यहाँको मौलिक कला संस्कृति हेर्न पर्यटकहरु पटकपटक आउने गरेको आफूले पाएको बताए । सामान्य खर्च गर्नसक्नेदेखि महँगो रकम तिर्नसक्ने दुवै पर्यटकका लागि बन्दीपुर उपर्युक्त गन्तव्य भएको अध्यक्ष थापाको भनाइ छ ।

आज डिसेम्बर ३१ का दिन सडक खाना महोत्सवसहित विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेर भ्रमण वर्ष समापन गर्न आयोजक पक्ष लागिपरेको छ । स्थानीय टुँडिखेल, सहिद पार्क, सिद्ध गुफा, थानीमाई, खड्गमाई र विद्यवासिनी मन्दिर, मणि मुकुन्देश्वरी पदमार्ग, मिनी ग्रेटवाल, रानीवन, तीनधारा वनभोज स्थल, गुम्बा, रामकोट, कोरीखा, धरमपानी होमस्टे, राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र, रेशमखेती, मौरीपालन र च्याउ उत्पादन केन्द्र बन्दीपुरका प्रमुख आकर्षण हुन् ।

नेवार, मगर, गुरुङलगायत जातजातिका सांस्कृतिक वेषभूषा र परम्परागत रीतिरिवाज पनि पर्यटकका लागि थप आकर्षण बनेका छन् । हिमालको लहर एकै फ्रेममा देखिने भएकाले स्वदेशी तथा विदेशी पर्यटक बन्दीपुरमा रमाउने गरेका छन् । यहाँका होटल व्यवसाय तीव्र गतिमा विस्तार भइरहेको छ । होटल सङ्घमा आबद्ध ८० भन्दाबढी होटल तथा एक दर्जन घरबास सेवा सञ्चालनमा छन् । साथै, अत्याधुनिक सेवा सुविधासहितको पाँचतारे होटल पनि सञ्चालनको अन्तिम चरणमा पुगेको छ । डुम्रे बजारबाट करिब आठ किलोमिटर यात्रा गरेपछि पुगिने बन्दीपुर बजारमा हाल केबलकारबाट पनि पुग्न सकिने व्यवस्था छ । ठूलढुङ्गाबाट बरालथोकसम्म सञ्चालनमा आएको केबलकार सेवाले सात मिनेटमै पर्यटकलाई बन्दीपुर पु¥याउने हुँदा आवागमन थप सहज भएको छ ।

पुसभित्रै विशेष महाधिवेशन बोलाउने महामन्त्रीद्वयको तयारी, के भन्छन् देउवा ?

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औ महाधिवेशन अन्योलमा पर्दै जाँदा विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र फेरि मतभेद तीव्र बनेको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पक्षमा उभिएका नेताहरूले पुस २६ देखि २८ गतेसम्म विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएका छन् भने सभापति शेरबहादुर देउवा पक्ष त्यसलाई अस्वीकार गर्दै निर्वाचनपछि मात्र नियमित महाधिवेशन हुने अडानमा छ ।

केन्द्रीय समितिले यसअघि पुस १६ मा वडा अधिवेशन र पुस २६-२८ मा १५ औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरे पनि क्रियाशील सदस्यता नवीकरण, वितरण, छानबिन समिति र विधान मस्यौदा समिति गठन जस्ता आधारभूत काम नै सम्पन्न हुन सकेनन् । यसले तोकिएको समयमा नियमित महाधिवेशन असम्भव बनेपछि विशेष महाधिवेशनको माग चर्किएको हो । विशेष महाधिवेशन पक्षधरले पार्टी विधानअनुसार ४० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरी असोज अन्त्यतिर केन्द्रीय कार्यालयमा बुझाइसकेका छन् । उनीहरूका अनुसार ५४ प्रतिशत प्रतिनिधिले माग गरेकाले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनु बाध्यकारी हुन्छ । यही आधारमा पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने तयारी गरिएको दाबी गरिएको छ ।

महामन्त्री थापाले विशेष महाधिवेशन विधानतः अनिवार्य मात्र नभई पार्टीको एकता र आत्मविश्वासका लागि आवश्यक रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा पार्टी अघि बढेको उल्लेख गर्दै सबैलाई एकताबद्ध हुन आह्वान गरेका छन् । विशेष महाधिवेशन पक्षधर नेताहरूले कानुन व्यवसायीहरूसँग छलफल गर्दा महामन्त्रीमार्फत केन्द्रीय कार्यालयले अधिवेशन बोलाउन सक्ने सुझाव पाएको पनि बताएका छन् ।

तर संस्थापन पक्ष भने विशेष महाधिवेशन असम्भव रहेको दाबीमा अडिग छ । प्रवक्ता प्रकाशशरण महतले चुनावअघि महाधिवेशन गर्दा पार्टीको ध्यान भंग हुने र संगठन कमजोर हुने तर्क गरेका छन् । उनका अनुसार आम निर्वाचनपछि मात्रै वडा तहदेखि नियमित अधिवेशन प्रक्रिया अघि बढ्नेछ । सभापति देउवाले पनि विशेष महाधिवेशनमा गए विधि र प्रक्रियामै अर्को विवाद सुरु हुने भन्दै त्यसको आवश्यकता नरहेको बताएका छन् ।

यद्यपि देउवाले यदि नियमित महाधिवेशन गर्न पार्टी तयार भए आफू बाधक नबन्ने पनि स्पष्ट पारेका छन् । आफू सभापतिको उम्मेदवार नबन्ने भएकाले तटस्थ रहने उनको भनाइ छ । पार्टी संस्थापन पक्ष विशेष महाधिवेशन आह्वान गर्ने पक्षमा छैन । सभापति शेरबहादुर देउवाले नियमितको कार्यतालिका आइसकेको हुँदा विशेषको बहस निरर्थक भएको बताएका छन् । ‘विशेष महाधिवेशन हुँदै हुँदैन । गर्ने नै हो भने गरे भइहाल्यो त ! मैले कार्यवाहक दिएकै छु । मैले रोक्ने कुरा चाहिँ हुँदैन,’ मंगलबर बिहान पत्रकारसँग कुरा गर्दै देउवाले भनेका थिए, ‘विशेष महाधिवेशनमा गयो भने त्यसको विधि के हुने भन्ने स्पष्ट छैन । कसरी गर्ने, विशेष माग्नेहरूको विवरण रुजु गराउनै कति समय लाग्ला ? त्यसकारणले यो सम्भव छैन ।’

यसरी कांग्रेसभित्र एकातिर विशेष महाधिवेशनको तयारी तीव्र बनिरहेको छ भने अर्कोतिर संस्थापन पक्ष निर्वाचनपछिको नियमित महाधिवेशनमै जोड दिइरहेको छ । पुस अन्त्य नजिकिँदै जाँदा कांग्रेस कुन बाटो समाउने हो भन्ने प्रश्नले पार्टी राजनीति थप तरंगित बनेको छ । नेताहरुको आ–आफ्नो अडानका कांग्रेस महाधिवेशन पेचिलो बन्दै गएको छ । दुबै पक्षका नेताहरुले आ–आफ्ना तर्क पेस गरे पनि महाधिवेशन कहिले हुन्छ भन्ने स्वयम कांग्रेसका नेताहरुलाई नै थाहा छैन ।

दुई दशकदेखि भारतमा व्यापार गरिरहेका व्यक्ति कांग्रेसको समानुपातिक उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति डा. सरोज कुमारले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पत्र पठाएर समानुपातिक उम्मेदवार छनोटमा ध्यानाकर्षण गराएका छन् । उनले बुधबार पठाएको ध्यानाकर्षण पत्रमा पार्टी संगठनमा नभएका व्यक्ति मो. अन्सार खाँलाई समानुपातिक उम्मेदवार बनाएको भन्दै आपत्ति जनाएका छन् । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा खाँलाई मुस्लिम क्लस्टरमा राखिएको छ ।

पत्रमा भनिएको छ, ‘सर्लाही जिल्लाबाट समानुपातिकतर्फ सिफारिस भएका मो. अन्सार खाँ कहि कुनै समितिबाट सिफारिस नभएको, पार्टी संगठनमा कहिल्यै नदेखिएको नाम हो ।’ उनी भारतमा बसेर व्यापार गर्दै आएको पत्रमा स्मरण गराइएको छ । ‘विगत २०–२५ वर्षदेखि भारतको लुधियानामा व्यापार गरेर बसेका व्यक्ति कसरी कुन मापदण्ड अन्तर्गत समानुपातिक सदस्यमा सिफारिस भयो ?’ प्रश्न गरिएको छ ।

यसलाई सच्याउन ध्यानाकर्षण पत्रमा आग्रह गरिएको छ । पत्रमा भनिएको छ, ‘पार्टी संगठनमा दिनरात काम गर्ने, पार्टी भनेर जीवन नै समर्पण गर्ने आदरणीय साथीहरूको मनोभावना कुल्ची, अन्याय गरि एक्कासी पहुँच, पैसा, पावरको भरमा आउने यी र यस्ता नामहरूको घोर निन्दा तथा भत्र्सना गर्दै नामावली यथाशिघ्र सच्याउन केन्द्रीय समिति समक्ष जोडदार माग गर्दछौँ ।’

 

 

भूमि आयोग कास्कीका अध्यक्षसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि आयोग कास्कीका अध्यक्ष गंगाप्रसाद पोखरेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले राष्ट्रिय भूमि आयोग, जिल्ला समिति, कास्कीका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोख्रेल, भूमि आयोगका तत्कालीन सदस्य तथा मालपोत कार्यालय कास्की, पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, भूमि आयोग कास्कीका तत्कालीन सदस्यहरु आश बहादुर गुरुङ, उमा कुमारी थापा, सोम बहादुर नेपाली र भिम बहादुर बिकविरुद्ध मुद्दा दायर गरेको हो ।

नक्कली सुकुम्बासीलाई विद्यालयको जग्गा दिएको आरोपमा आयोगले उनीहरुविरुद्ध आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । अख्तियारले गैरसुकुम्बासीलाई झुटा विवरणका आधारमा सुकुम्बासी बनाएको देखिएको जनाएको छ । भीमबहादुर विकले आफ्नी पत्नी सुकुमाया कामीको नाममा जग्गा लिएको भन्दै अख्तियारले एक करोड ४० लाख रुपैंया हानी नोक्सानी भएको दावी गरेको छ । आयोगले जग्गा पाउने भीमबहादुर विकलाई पनि मुद्दा चलाएको छ ।

भ्रष्टाचार मुद्दा खेपेका मालपोत कार्यालय कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी लिचीबारी जग्गा प्रकरणमा समेत मुछिएका व्यक्ति हुन् । तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र विचौलियाबिच भूमी आयोग कास्कीका प्रमुख नियुक्तिमा समेत लेनदेन भएको अडियो सार्वजनिक भएको थियो । त्यतिबेला उनीहरुविचको संवादमा भूमी व्यवस्थामन्त्री बलराम अधिकारीले अर्कैसँग घुस खाई कास्कीको भूमि आयोग अध्यक्ष नियुक्ति गरिसकेको कुराकानी बाहिरिएको थियो । त्यही कुराकानीमा प्रसंग निस्किएको भूमी आयोग कास्कीका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोखरेल सहित सबै पदाधिकारीहरु भ्रष्टाचार मुद्दामा परेका हुन् ।

पोखरा महानगरपालिका–२६ लेखनाथमा रहेको सामूदायिक अमरज्योती आधारभूत विद्यालयको ३ रोपनी ३ आना जग्गा भूमी आयोगले नक्कली सुकुम्बासीको नाममा दर्ता गरेको अख्तियारको आरोप छ । आयोगले दायर गरेको आरोप पत्रमा भनिएको छ, ‘प्रतिवादीहरुले बदनियत राखी गैरसुकुम्वासी भिमबहादुर विकलाई भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२क. को उपदफा (१), भूमि सम्बन्धी नियमहरु, २०२१ को नियम ४१ख. राष्ट्रिय भूमि आयोग, गठन आदेश, २०७८ र यस सम्बन्धी कार्यविधिहरु विपरीत जग्गा दिने निर्णय गरी गराई, जग्गा धनी श्रेस्ता पूर्जाको प्रमाण संकेतमा विगतको सुकुम्बासी समस्या समाधान आयोगको अधुरो काम अन्तर्गत सुकुम्बासी समस्या समाधान आयोग, जिल्ला समिति, कास्कीले मिति २०५२-५-१२ मा निर्णय गरी कित्ताकाट भई निर्णय कार्यान्वयन हुन बाँकी रही अधुरो रहेको झुट्टा ब्यहोरा उल्लेख गरी गराई साविक कन्धानीडाँडाँ गाउँ विकास समिति वडा नं.४ कि.नं. ७२५ क्षेत्रफल ३–३–०–० रोपनी जग्गाको श्रेस्ता-पूर्जा मिति २०८०-१२-५ मा मालपोत कार्यालय, कास्कीका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीबाट प्रमाणित गरी गराई जग्गाधनी प्रमाण पूर्जा समेत उपलब्ध गराएकोमा राष्ट्रिय भूमि आयोग, जिल्ला समिति, कास्कीका अध्यक्ष गंगाप्रसाद पोख्रेलले श्रेस्ता लागू गर्न पत्राचार गरे गराएको देखिएको छ ।’

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक अवस्थाबाट निकास निकाल्न तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु अपरिहार्य रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्यः सामूहिक पहल’ कार्यक्रममा उनले निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त गरी संसद् पुनःस्थापना गर्नु अबको बाटो रहेको उल्लेख गरे । “शान्ति, स्थायित्व र समृद्धिका लागि निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेर नयाँ संसद् स्थापना गर्नुपर्छ । नयाँ संसद्ले संविधानमा रहेका अन्योलता हताउने काम गर्नेछ”, पूर्वप्रधानमन्त्रीसमेत रहेका संयोजक दाहालले भने ।

पछिल्ला राजनीतिक घटना र जेनजी आन्दोलनले पुरानो राजनीतिक सोच र स्थापित शक्तिलाई आत्मसमीक्षा गर्न बाध्य पारेको उनले बताए । संयोजक दाहालले राजनीतिक दलका नेतृत्व तहले आफ्ना कमीकमजोरी पहिचान गरी सुधारतर्फ उन्मुख हुनुपर्नेमा पनि जोड दिए । “हामीले आफ्नै आत्मसमीक्षा गरेर कमजोरी कहाँ भयो भनेर खोज्नुपर्छ । स्थापित शक्तिहरू अब नागरिकको आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्ने वा आफ्नो औचित्य सकियो भनेर पाखा लाग्ने मोडमा पुगेका छन्”, उनले भने । दाहालले निर्वाचनलाई राजनीतिक प्रतिस्पर्धा मात्र नभई राष्ट्रिय सहमति निर्माण गर्ने प्रक्रियाका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे । “युवापुस्ता जेनजी प्रदर्शनपछि हामीले राष्ट्रिय सहमति र राष्ट्रिय राजनीतिक एकतामा जानुपर्छ भनेका थियौँ । सर्वपक्षीय सहमति गर्ने वातावरण क्रमशः बन्न थालेको छ” उनले भने ।

दाहालले वर्तमान सरकारले चुनौतीपूर्ण परिस्थितिमा बसेर पनि निर्वाचन गर्ने वातावरण बनाउन सफल भएको उल्लेख गरे  । “के हुन्छ भन्ने अन्योलभन्दा अब निर्वाचनमा केन्द्रित हुनुपर्छ । सरकारले अप्ठेरोबीच पनि विकल्प निर्वाचन नै हो भन्ने वातावरण बनाउँदै गएको छ”, उहाँले भन्नुभयो । कार्यक्रममा नेकपाका संयोजक दाहालले राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धि निजी क्षेत्रको सक्रियता बिना सम्भव नहुने तर्क गर्नुभयो । “निजी क्षेत्रलाई संरक्षण र प्रोत्साहन गरिएन भने विकास र समृद्धि सम्भव हुँदैन । निजी क्षेत्रको प्रवर्द्धन नगरी अर्थतन्त्र उकास्ने सपना पूरा हुँदैन”, उनले भने ।

दाहालले राज्य, निजी क्षेत्र र समुदायबीचको सहकार्यबाट मात्र रोजगार सिर्जना, लगानी विस्तार र उत्पादन वृद्धिबाट समृद्धि सम्भव हुने धारणा राखे ।

भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी

काठमाडौँ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्का संरचनाको बाँकी बक्यौता उठाउन व्यापारी तथा सङ्घसंस्थालाई तत्कालै पत्र काट्ने बताएकि छिन् ।

भृकुटीमण्डपको आज अवलोकनपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भनिन्, “कतिपय संरचनाको बक्यौता बाँकी छ भन्ने सुनेका थियौँ, त्यो समस्या आज आफैँले थाहा पायौँ, बाँकी बक्यौता तिर्नका लागि आजै पत्र काट्दैछौँ ।” मन्त्री श्रेष्ठले भाडा सम्झौता नवीकरणका क्रममा समयानुकूल भाडादर तय गरिने स्पष्ट पार्नुभयो ।

बक्यौता बाँकी भएकाको सूची तयार भइसकेको उहाँको भनाइ छ । व्यापारिक प्रयोजनका लागि भाडा लिइएकाबाट बक्यौता उठाउन सुरु गरिनेछ । भृकुटीभण्डपका संरचनाको भाडासम्बन्धी विषयमा यसअघि समाजकल्याण परिषद्मा पनि छलफल भएको जानकारी दिँदै मन्त्री श्रेष्ठले आज विस्तृतमा अवलोकन गरिएको बताइन् ।

नेताहरुले दौडधूप थाल्नु भएको छ, निर्वाचन सुनिश्चित छ : मन्त्री खरेल

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले फागुन २१ गते हुने निर्वाचन सुनिश्चित भइसकेको र अब कुनै अन्योल नरहेको दावी गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । खरेलका अनुसार शीर्ष नेताहरू निर्वाचनको तयारी र प्रचारमा व्यस्त हुन थालेका छन् ।

उनले पछिल्लो २९ वर्षमा देखिएका अत्यन्त ठूला मुद्दाहरू अदालतसम्म पुगेको उल्लेख गर्दै यसले सुशासनको जग बसाल्ने काम गरेको बताए । ‘मलाई अनुभूति भएको छ, मुलुक निर्वाचनमय भएको छ,’ खरेलले भने, ‘शीर्ष नेताहरुले दौडधूप गर्न थाल्नुु भएको छ । प्रत्यक्ष निर्वाचनका लागि १६५ सिट निर्धारण गर्नुपर्नेछ । अब निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योल समाप्त भएको छ । अब चुनाव सुनिश्चित भएको छ ।’

सञ्चारमन्त्री खरेलले पछिल्लो २० वर्षको इतिहासमा अदालतमा दर्ता भएका भ्रष्टाचारका मुद्दा सबैभन्दा धेरै भएको दाबी समेत गरे । कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रले भोग्नुपरेको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरे । उनका अनुसार ३८ अर्ब रुपैयाँभन्दा बढीको निजी क्षेत्रको सम्पत्ति सहित कुल ८४ अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति क्षति हुँदा मन रोएको अवस्था छ ।

खरेलले प्रधानमन्त्री तथा सरकारले निजी क्षेत्रलाई साथ दिएको उल्लेख गर्दै उद्योग, व्यापार र व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण र सुरक्षाको प्रत्याभूति सबैको साझा प्रतिबद्धता हुनुपर्नेमा जोड दिए । उनले भने, ‘निजी क्षेत्रलाई इन्कार गरेर समाजवाद सम्भव हुँदैन । उद्योग–व्यवसाय फस्टाउने वातावरण बनाउनु आजको आवश्यकता हो ।’