`

प्राधिकरणले तोक्यो आन्तरिक हवाई भाडादर, कहाँको कति ?

काठमाडौं । चाडबाडका बेला हवाई टिकटको माग अत्यधिक हुँदा महँगोमा बिक्री गर्न सक्ने सम्भावनालाई ध्यान दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।

सरकारबाट स्वीकृत भाडाभन्दा बढी रकम यात्रुबाट नलिन तथा लिए कारबाही हुने चेतावनी पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालाई दिएको छ । नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको भाडादर अनुसार सबैभन्दा धेरै हवाईभाडा काठमाडौँ–धनगढीको १७ हजार ५७९ रुपैयाँ र सबैभन्दा कम काठमाडौँ–सिमराको ३ हजार ९७८ रुपैयाँ तोकिएका छन् ।

हेर्नुस् हवाई भाडादरको सूची 
काठमाडौँ–विराटनगर : ९,७८५ रुपैयाँ ।
काठमाडौँ–भरतपुर : ४,६४३ रुपैयाँ ।
काठमाडौँ–भद्रपुर : १२,११२ रुपैयाँ ।
काठमाडौँ–जनकपुरमा : ५,४७० रुपैयाँ ।
काठमाडौँ–पोखरा : ६,६३५ रुपैयाँ ।
काठमाडौँ–नेपालगञ्ज : १३,१०३ रुपैयाँ ।
काठमाडौँ–धनगढी : १७,५७९ रुपैयाँ ।
काठमाडौँ–सिमरा : ३,९७८ रुपैयाँ ।
काठमाडौँ–भैरहवा : ८,४६१ रुपैयाँ ।
काठमाडौँ–राजविराज : ८,२१० रुपैयाँ ।
काठमाडौँ–सुर्खेत : ९ हजार ३० रुपैयाँ ।
काठमाडौँ–तुम्लिङटार : ७,६३० रुपैयाँ ।

पुलमुनि मोटरसाइकलसहित मृत्त भेटिए युवक

पर्सा । पर्साको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरस्थित पुलमुनि शुक्रबार बिहान एक युवक मृत भेटिएका छन् । वडा नम्बर ३ को कार्यालयबाट करिब १०० मिटर पश्चिमतर्फ रहेको झलमहिया र भिस्वा जोड्ने सडकमा अवस्थित पुलमुनि खसेको अवस्थामा भारतीय नम्बर प्लेटको होण्डा साइन मोटरसाइकलसहित झलमहिया गाँउकै २८ वर्षीय रमेश साह कानु मृत अवस्थामा भेटिएका हुन् ।

पुलमुनिको पानीमा वीर आर २२ ए एल १२७३ नम्बरको मोटरसाइकलसँगै मृत भेटिएका ती युवकको मृत्युको यकिन कारण अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।

घटनास्थल र शवको प्रकृति हेर्दा मोटरसाइकलसहित पुलमुनि खसेर युवकको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीको भनाई छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय पोखिरियाको प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

‘डाइभर्सन’ नहुँदा मालबाहक ट्रली थन्किए भन्सारमै

मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमी खोलामा सडक डाइभर्सन नहुँदा मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भइसकेका सिनो हाइड्रो पावर कम्पनीका १८ वटा मालबाहक ट्रली भन्सार कार्यालय न्हेचुङमै थन्किएका छन् ।

जोमसोम–कोरला सडकअन्तर्गत घमी खोलामा सडक डाइभर्सन नहुँदा चीनबाट आयात गरिएका उपकरण तथा निर्माण सामग्रीसहितका १० पाङ्ग्रे ट्रली मङ्गलबारदेखि भन्सार कार्यालय न्हेचुङमै थन्किएका हुन् ।

कोरला नाकाबाट ढुवानी गरी फर्किएका मझौला खालका मालबाहक कन्टेनरहरू मुश्किलले तल झारिए पनि ‘हेभी’ मालबाहक ट्रलीको भार अस्थायी पुलले थेग्न नसक्ने भएकाले भन्सार कार्यालयमा रोकिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । अब दसैँपछि व्यवसायी र आयोजना मिलेर डाइभर्सन निर्माण गरी समस्या समाधान गरिने उनले बताए ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आए पनि कोरला सडकको घमी खोलामा सडक डाइभर्सन नहुँदा समस्या भएको बताए । व्यापारीसँग समन्वय गरी डाइभर्सन निर्माण गर्न पहल भइरहेको उनले बताए ।

घमी खोलामा निर्माणाधीन पुल सात वर्ष भइसक्दा समेत सम्पन्न हुन सकेको छैन । पुल निर्माणका लागि विसं २०७५ रु छ करोड ८० लाख लागतमा हिमढुङ ठोक्कर एण्ड इमोटल जेभी कन्टक्सनसँग ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीलाई आयोजनाले दैनिक हर्जाना समेत लगाइरहेको भए पनि काम अझै अघि बढ्न सकेको छैन । एक स्पानको ४० मिटर लामो पुल बनाउने भनिएकामा हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

 

हेटौंडा–काठमाडौं जोड्ने दुई सडकमा राति गाडी चलाउन रोक

बागमती । हेटौंडा–काठमाडौँ जोड्ने दुई सडकमा आज (शुक्रबार) देखि तीन दिनसम्म बेलुकाको समयमा गाडी चलाउन रोक लगाइएको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा आजदेखि असोज २० गते बेलुका ४ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म र हेटौँडा–भैँसे–काठमाडौँ सडकमा बेलुका ५ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिइन् ।

जल तथा मौसम विभागद्वारा जारी मौसम पूर्वानुमानसम्बन्धी सूचनाबमोजिम असोज १७ गतेदेखि २० गतेसम्म जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले परिस्थितिलाई मध्यनजर गर्दै यी दुवै सडकमा बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको सूचनामा उल्लेख छ ।

त्यस अवधिमा अत्यन्त जरुरी कामबाहेक टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गर्दै प्रजिअ श्रेष्ठले पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीमा धनजनको क्षति हुन नदिन सबै स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह समेत गरेका छन् ।

विपद् पूर्व तयारी र प्रतिकार्यमा जुट्न सबै साझेदार संस्थाहरू, जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिको नियमित समन्वय र सम्पर्कमा रही सतर्क रहन पनि आग्रह गरिएको छ ।

पाँच ठाउँमा पूर्णरुपमा सडक अवरुद्ध

काठमाडौं । बाढी–पहिरो र वर्षाका कारण कोशी र बागमती प्रदेशका पाँच ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ७ बजे सार्वजनिक गरेको विवरण अनुसार अविरल वर्षाले संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

यस्तै बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ मा नेपाल–चीन नाका जोड्ने पुलनेर सडक पूर्णरुप्मा अवरुद्ध भएको छ । यसैगरी गोसाइँकुण्ड गाउँपालिका २ मै पासाङ ल्हामु सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ ।

नेपाल–चीन सीमा क्षेत्रमा गत असार २४ गतेदेखि नै बाढीले सडक अवरुद्ध भएको हो भने पासाङ ल्हामु सडकखण्डमा भने यही असोज १६ गते पहिरो गएर यातायात अवरुद्ध भएको हो । यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ चारकिलो भन्ने स्थानमा पहिरो झरेर अरनिको राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

हेर्नुस् प्रहरीको सूचना

 

सल्यान दुर्घटना : घाइते निशाको भारतमा निधन, मृतकको संख्या चार पुग्यो

सल्यान । रुकुम पश्चिमको बाँफिकोटबाट दाङ जाँदै गरेको फोर्स गाडी सल्यानको कपुरकोट गाउँपालिका–३ मा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । असोज ११ गते शनिबार राति भएको दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

निशा र उनका सहोदर दाइ ठगेन्द्र केसी घाइते भएका थिए । २७ बर्षीया निशाको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–४ का वडाध्यक्ष शेरबहादुर ओलीका अनुसार आज बिहान २ बजेको समयमा निशाको निधन भएको हो ।

उनका दाइ ठगेन्द्रको उपचार चलिरहेको छ । उक्त दुर्घटनामा निशाकी आमा ६८ बर्षीया पवि केसीसहित २७ वर्षीय शशीधर केसी र बाँफिकोट–४ का २७ वर्षीय प्रकाश केसीको निधन भएको थियो । आमा पविलाई उपचारका लागि लिएर जाने क्रममा निशा, ठगेन्द्र र शशीधर दुर्घटनामा परेका हुन् । लु २ ख ६५०२ नम्बरको हायस गाडी सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।

 

भक्तपुरमा पायःद्यो (खड्ग जात्रा) सहित तलेजुको घोडा जात्रा

भक्तपुर । बडादसैँँको दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग जात्रासहित तलेजुको बाहन सेता घोडा जात्रा सम्पन्न भएको छ । एकादशीको दिन आज बिहान पायःद्यो जात्राका क्रममा तलेजु भवानीको साक्षात् रुप मानिने देवतालाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्‍याई जात्रा मनाउने परम्परा रहेको संस्कृतविद् प्रकाश कायस्थले जानकारी दिए ।

बडादसैँको मध्यराति तलेजु आगम घर (मन्दिर) को खँ कुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलि पात्र र शस्त्रास्त्रसहित तलेजुको प्रतिरुप पायःद्यो तलेजुका मूल आचाजु, पुरोहितले राजोपाध्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुने तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

खड्ग जात्राका क्रममा तलेजुमा सम्बद्ध राजोपाध्यायले पायःद्योलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेको चोक पुगेपछि पूजा र दर्शन गर्न दिने परम्परा रहेको छ । विजयादशमीको दिनभर ब्रह्मायणी मन्दिरमा जात्रारत नवदुर्गा भवानीका देवगण ब्रह्मायणीबाट राति भक्तपुरको विभिन्न टोल घुमेर जात्रा गर्दै दरबारस्क्वायर आएपछि बहिनी ब्रह्मायणीले दिदी तलेजु भवानीलाई दर्शन एवं ढोग गरी मन्त्रसिद्धि गरिने परम्पराअनुसार जात्रा सम्पन्न भएको तलेजुका मूल नाइके जोशीले जानकारी दिए ।

उनका अनुसार तलेजुलाई दरबार स्क्वायरस्थित स्वर्णद्वार (गोल्डेन गेट) ल्याएपछि पंक्तिबद्ध रुपमा प्रतीक्षारत नवदुर्गा देवगणलाई पालैपालो तलेजुद्वारा मन्त्रसिद्धि प्रदान गर्ने र तलेजु भवानीबाट मन्त्रसिद्धि प्राप्तिपछि पायःद्यो जीवित देवता नवदुर्गा देवगणसहित यात्रा पथमा अगाडि बढ्ने प्रचलन रहेको छ ।

चन्द्रमासको तिथि र गतिका आधारमा नगरको माथिल्लो र तल्लो क्षेत्रमा जात्रा हुने परम्परा रहेअनुसार यसवर्ष माथिल्लो क्षेत्र दरबार स्क्वायरस्थित गोल्डेन गेटबाट बालाखु गणेश, भोलाछेँ, दत्तात्रय, सुकुलढोका, क्वाछें, तौमढी हुँदै दरबारस्क्वायरस्थित जगन्नाथ (पशुपति) मन्दिरको परिक्रमा र ढोग गरी दरबारस्क्वायर लगेर तलेजुको देवगृहमा प्रवेश गराएर जात्रा बिहानी पख सम्पन्न गरिएको जोशीले जानकारी दिए।

बडादसैँको मध्यरातमा ऐतिहासिक एवं धार्मिक सांस्कृतिक महत्वको यो जात्रालाई खड्ग जात्रा भनेर चिनिने गरिएको उनले जानकारी दिए । विजयादशमीको राति तलेजु भवानीलाई तलेजुका चार मूल नाइके, आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा, टीका साइत पूजा गरी विसर्जन पूजा सम्पन्न गरेपछि सेतो घोडा जात्रा हुने सुरु हुने परम्परा छ ।

जात्रा हुनुअघि सेतो घोडालाई एउटा भेँडा बलि चढाए पछि तलेजुको मूलचोकबाट सेतो घोडालाई बाहिर ल्याई भक्तपुर नगरमा डुलाएर घोडा जात्रा गर्ने गरिएको छ । जात्राको क्रममा ब्रह्मायणी र तलेजुलाई नगरको विभिन्न क्षेत्रका परिक्रमा गराउने क्रममा तलेजुको बाहन सेतो घोडालाई पछि परिक्रमा गराएर जात्रा मनाएको हो । ऐतिहासिक तथा सांस्कृतिक महत्वको घोडाजात्रा प्रत्येक वर्ष विजयादशमी र एकादशीको रात्रिकालीन समयमा गर्ने परम्परा रहेको छ ।

महोत्तरीमा बस दुर्घटना : एकको मृत्यु, २० जना घाइते

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका खैरमारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

काठमाडौं–खैरमारा चल्ने ना ६ ख १४६३० नम्बरको बस आज बिहान काठमाडौंतर्फ जान लागेको बेलामा दुर्घटना भएको हो । दुर्घटनामा स्थानीय करिब ८० वर्षीय चुल्हाइ चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

सडकमा पल्टिएको बसमा एक जना च्यापिएका छन् । प्रहरी घटनास्थलमा टोली पुगेर घाइतेहरुको उद्धार गर्दै अस्पताल पठाएको छ । दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुदन गुरुङ : ‘हाइज्याक’ कि नेतृत्व ?

काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सुरु भएको ‘जेन जेड आन्दोलन’ अहिले सुदन गुरुङको नामसँग जोडिएको छ । आन्दोलनको सुरुवातमा नेतृत्वमा नदेखिएका सुदन अहिले प्रधानमन्त्री छान्ने तहसम्मको निर्णय प्रक्रियामा प्रभावशाली देखिँदैछन् । शपथदेखि संविधान दिवससम्मका सबै राजकीय गतिविधिमा क्यामरा सुदनतिरै केन्द्रित देखिन्छ ।

सुदन गुरुङ २०७२ को भूकम्पपछि सामाजिक काममा होमिएका थिए । डीजे पेसाबाट उदाएका उनले ‘हामी नेपाल’ नामक संस्था स्थापना गरी विशेषतः कोभिडमा मानवीय सहायतामा सक्रियता देखाए । आन्दोलन सुरु हुँदा उनी स्वयंसेवकका रूपमा मात्र थिए ।

माइतीघरमा भएको प्रदर्शनका लागि अनुमति सबल गौतम र पुरुषोत्तम यादवले लिएका थिए । ‘नेता कोही छैन’ भन्ने सहमतिसहित सुरु भएको आन्दोलनमा सुदनले आफ्नै संस्थाको ज्याकेटमा अग्रपंक्तिमा देखा परेपछि उनीमाथि ‘हाइज्याक’ को आरोप लाग्न थाल्यो ।

भदौ २३ को आन्दोलनमा प्रहरीले गोली चलाउँदा ठूलो मानवीय क्षति भयो । त्यसपछि सेना सक्रिय बन्यो । २४ गते रातिदेखि सेनाले ‘हामी नेपाल’ सँग समन्वय सुरु ग¥यो । सुदनले आफ्नो नेटवर्क प्रयोग गरेर सेना र संकटग्रस्त स्थानबीच सूचना प्रवाहको पुल बने । त्यसपछि सुदन क्रमशः वार्ताकार र आन्दोलनको ‘अनौपचारिक नेता’ बने ।

२५ गतेदेखि उनले अन्तरिम सरकार, संसद् विघटन, संविधान संशोधनजस्ता विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न थाले । आन्दोलनका सुरुवाती अगुवाहरूले सुदनको पारदर्शिता, आक्रामक अभिव्यक्ति शैली र एकल निर्णय प्रक्रियाप्रति आलोचना गरे पनि उनका कामको प्रभावलाई स्वीकार गरेका छन् ।

जेन जेड अभियन्ता तनुजा पाण्डे भन्छिन्, ‘हाइज्याक होइन । सुदनले जेन जेडका माग नसुनिने खतरा भएको बेला अगाडि बढेर काम गरे । तर पारदर्शिताको कमी समस्या हो ।’ अर्का अभियन्ता मिराज ढुंगाना र पुरुषोत्तम यादव पनि सुदनले राम्रो काम गरेकाले क्रेडिट पाउनु पर्ने धारणा राख्छन् ।

विवाद र आलोचनाबीच पनि सुदन अहिले आन्दोलनको अनुहार बनेका छन् । उनी नेतृत्वमा कसरी आए ? नियोजित थिए कि परिस्थितिले तानिए ? यसको जवाफ अझै खुल्दैछ । तर एक कुरा स्पष्ट छ– सुदन यो आन्दोलनको उत्पत्ति होइनन्, तर अहिलेको अनुहार अवश्य हुन् ।

आज एकादशीको दिन पनि दशैंको टीका लगाइँदै

काठमाडौं । दशैंको टीका र जमरा लगाउने क्रम आज (शुक्रबार) एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ ।

नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन बडादशैं पर्व भव्यरूपमा मनाउँछन् । नजिकका परिवारका सदस्य र मान्यजनहरुबाट दशमीको दिन टीका जमरा लगाएर आशिर्वाद ग्रहण गरे पनि टाढा भएका आफन्तजनहरुसम्म पुग्न नपाएकाहरुले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गर्दछन् ।

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै शुरु हुन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य वेदमणि भट्टराई कसैले विजया दशमीको दिनमात्र टीका लगाउने चलन भए पनि कसैले कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने चलन रहेको भन्दै त्यसलाई अन्यथा रुपमा लिन नहुने बताउँछन् ।

उनले भने, ‘नेपाली समाजको परम्परा आफ्नै विशिष्ठता र विशेषतायुक्त छ । ठाउँअनुसार आफ्नै खालका परम्पराहरु छन् । पूर्वी र मध्य नेपालमा पूर्णिमाका दिनसम्म टीका लगाइदिने चलन छ । पश्चिम नेपालका कैयौं ठाउँहरुमा दुर्गा विसर्जन गरेको एक दिन मात्रै टीका ग्रहण गरौं भन्ने चलन बस्यो । आ–आफ्नै परिवेश अनुसार चलेका चलनलाई अन्यथा लिने कुरा भएन ।’ यस्तै आज आश्विन शुक्ल एकादशीलाई पापाङ्कुशा एकादशीका रूपमा मनाइँदैछ । आजको एकादशीका दिन व्रत बसे विगतमा जानी–नजानी गरेका पापमा अंकुश लाग्ने धार्मिक विश्वास छ ।

 

देशभर बर्षाको सम्भावना, यी प्रदेशमा ठूलो पानी पर्ने

काठमाडौं । आज (शुक्रबार) देशभर बर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । केहि प्रदेशमा ठूलो वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली (आकाशभरि बादल) रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराईका केही भू–भाग, मधेस प्रदेशलगायत देशका बाँकी प्रदेशका पहाड र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका तराई, कर्णाली प्रदेश र बागमती प्रदेशका पहाड भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आज राति देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भू–भाग, मधेस प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

मौसम महाशाखाले यहाँ ‘दिउँसो’ शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ‘राति’ शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो । मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ ।

५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ ।

यस्तै एक–दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो । यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ ।

त्यस्तै ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ । त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ । यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ ।

सरकारमा हुनेहरूको बुद्धि नपुगेका कारण जेन–जी पुस्ताको ज्यान गयो : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा हुनेहरूको बुद्धि नपुगेका कारण जेन–जी पुस्ताहरूको ज्यान गएको बताएकी छन् । विजया दशमीको दिन जेन–जी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारसँग भेट गर्दै उनले यस्तो बताएकी हुन्।

नहुनुपर्ने घटना भएको र आन्दोलनका क्रममा निधन भएकाहरूको परिवारलाई कसरी सहयोग गर्ने भन्नेबारे सोचेको पनि उनले बताइन् । राज्यले मृतकलाई फर्काएर ल्याउन नसके पनि मद्दत गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीले जनाइन् ।

‘दुःखद घटना भयो । सरकारमा हुनेको बुद्धि पुगेन जस कारण यो दुर्घटना भयो । बच्चाहरूले पढ्ने कसरी ? उहाँहरूको पढाइ, कामहरू दिने गरी सोचिरहेका छौं । उहाँहरूले मागेकै केही छैन । उहाँहरूको नोक्सान जे भयो, त्यसको क्षतिपूर्ति त हुनै सक्दैन । राज्यले फर्काएर त ल्याउन सक्दैन । राज्यबाट उठ्नलाई मद्दत गर्ने भन्ने हो ।’

प्रधानमन्त्री कार्कीसँगै सहिद परिवार भेट्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सहिदहरूको रगतमाथि अन्याय हुन नदिने र उनीहरूको रगतले न्याय पाउने बताए । गत भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनका क्रममा ७६ जनाको ज्यान गयो । सयौं मानिस घाइते भएका छन् । यस वर्ष सदाझैं पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री कार्कीले सर्वसाधारणलाई दसैंको टीका लगाइ दिएनन् ।

मुक्तिनाथमा आयोजित छ महिने महायज्ञ सकियो

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथ धाममा सञ्चालित छ महिने महायज्ञ विधिवत रूपमा आज समापन भएको छ । मुक्तिनाथ मन्दिरका पिठाधीस जगतगुरु स्वामी कमलनयनाचार्यको उपस्थितमा विशेष पुजापाठसहित महायज्ञ समापन भएको हो ।
कालीगण्डकीको शालिग्राम र मुक्तिनाथको प्रचारप्रसार गर्ने, धार्मिक आस्थालाई एकआपसमा जोड्ने र विश्वशान्तिको कामना गर्दै गत चैतको रामनवमीदेखि मुक्तिनाथमा महायज्ञ सुरु भएको थियो । कमलनयनाचार्य मुक्तिनाथ बाबाको संकल्प अनुसार त्रिवेणीस्थित गजेन्द्रमोक्ष धामबाट मुक्तिनाथधामसम्म विशाल रथयात्रासहित  सुरु भएको महायज्ञ आज समापन भएको हो ।
बडादसैँको शुभदिनमा आज विधिवतरूपमा पूजापाठ गरी महायज्ञ बिर्सजन भएको कागबेनीधामका पुजारी प्रताप आचार्यले जानकारी दिए । मुक्तिनाथमा आयोजित महायज्ञको पूर्ण आहुतिसँगै पुनः मुक्तिनाथ धामबाट रथयात्रा सुरु भइ त्रिवेणीस्थित गजेन्द्र मोक्षधामसम्म रथयात्रा प्रस्थान गर्ने कार्यक्रम रहेको पुजारी  आचार्यले जानकारी दिए ।

विजयादशमी : देखिन थाल्यो दुर्गा देवीको प्रसाद र आशीर्वाद थाप्नेको चहलपहल

काठमाडौं । नौं दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको प्रसाद घरमा मान्यजनबाट ग्रहण गरेपछि घरबाहिर टीका लगाउन हिँड्नेको आजैदेखि राजधानीलगायत देशभर चहलपहल देखिन थालेको छ ।

महानवमीका दिन बुधबार सुनसानप्राय बनेको राजधानीमा आज विजयादशमीको टीकापछि भने घर बाहिरका आफन्तसँग दुर्गादेवीको प्रसाद लगाउन हिँड्नेको केही चहलपहल देखिन थालेको हो । निधारमा रातो टीका र टाउकोमा जमरा लगाएका मानिस अन्यत्र टीका एवं आशीर्वाद थाप्न हिँड्न थालेका छन् ।

दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नगरेसम्म जारी रहन्छ । राजधानीमा मानिसको चहलपहल बढे पनि सार्वजनिक सवारी भने निकै कम चलेका छन् । थोरै मात्रामा चलेका सार्वजनिक सवारीमा कोचिएर यात्रा गर्न यात्रु बाध्य छन् । यस वर्षको दशैँमा झरी परेका कारण पनि टीका एवं आशीर्वाद थाप्न हिँड्ने मानिस प्रभावित भएका छन् । महानवमीका दिन बुधबार र आज बिहान पनि राजधानीलगायत विभिन्न स्थानमा वर्षा भएको थियो ।

दशैंको टीकाको दिन पनि सडक र पुल निरीक्षणमा मन्त्री घिसिङ

रामेछाप । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले दशैंको टीकाको दिन पनि बीपी राजमार्ग र मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण तथा अनुगमन गरेका छन् ।

सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री घिसिङ बडादशैँ पर्वको बिदाका अवसरमा पनि सम्बद्ध मन्त्रालयका प्राविधिक तथा उच्च अधिकारीलाई साथमा लिई स्थलगत निरीक्षणसहित निर्देशन दिएका हुन् ।

उनले काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लामा पर्ने महत्वपूर्ण सडक खण्डका बिग्रेभत्केका भौतिक संरचना र अलपत्र अबस्थामा रहेका पुल तथा पूर्वाधारहरूको निरीक्षण गरी सम्बद्ध अधिकारीहरूलाई आवश्यक निर्देशन दिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

संघीय राजधानी काठमाडौँबाट विपी राजमार्ग हुँदै गृह जिल्ला रामेछाप आएका मन्त्री घिसिङले वीपी राजमार्गसहित खैरेनी घाटको पुल र निर्माणाधीन मध्यपहाडी लोकमार्गको कार्यप्रगतिका वारेमा जानकारी लिए ।

बाढी–पहिरोलगायतका कारण बिग्रे–भत्केका संरचनाहरुको अस्थायी रुपमा भने पनि जतिसके छिटो मर्मत गर्नुपर्ने बताउँदै उनले भत्केका पक्की पुलहरुको स्थानमा ‘बेली बृज’ र ‘कल्भर्ट’ निर्माण गर्न र सडकमा देखिएका खाल्टाखुल्टी पुरी सहजरुपमा यातायात सञ्चालन तथा व्यवस्थापन गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएको बताए ।

प्रधानमन्त्री कार्कीले भेटिन् जेनजी आन्दोलनका शहीदका परिवार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विजयादशमीको अवसर पारेर आज ‘जेनजी’ आन्दोलनका शहीदका परिवारलाई भेटेकी छन् ।प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौँको वनस्थली पुगेर शहीद सौरन किशोर श्रेष्ठको परिवारलाई भेटेकी हुन् ।

यस्तै उनले नागार्जुन–३ पुगेर शहीद कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगर पुगेर शहीद बुद्धिबहादुर तामाङको परिवारलाई भेटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीसँग सञ्चारमन्त्री जगदीश खरेल पनि शहीदका परिवार भेट्न पुगेका थिए ।

गत भदौ २३ र २४ गते जेनजीको नेतृत्वमा भएको आन्दोलनका क्रममा अहिलेसम्म सुरक्षाकर्मी समेत ७६ जनाको मृत्यु भएको सरकारले जनाएको छ । आन्दोलनका क्रममा मारिएका युवालाई सरकारले शहीद घोषणा गरिसकेको छ । आन्दोलनमा घाइते भएकामध्ये ३८ जना अझै उपचारमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लगाए टीका

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पिता भोजप्रसाद भट्टराईको हातबाट दशैंको टीका ग्रहण गरेका छन् । भट्टराईले बिहीबार बिहान शुभसाइतमै पिताको हातबाट टीका लगाएर आर्शिवाद ग्रहण गरेको परिवारसहितको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राखेका हुन्।

‘एलन मस्क विश्वकै पहिलो दुई अंकको खर्बपति बन्ने बाटोमा’

काठमाडौं । विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले इतिहासमा पहिलो पटक खर्बपति बन्ने सम्भावना बढाएको फोर्ब्स पत्रिकाले रिपोर्ट गरेको छ । मस्क अहिले विश्वको पहिलो दुई अंकको खर्बपति बन्ने यात्राको करिब आधा चरणमा पुगेका छन् ।

टेस्ला र स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मस्कको नेटवर्थ हालै पाँच खर्ब डलर नाघेको थियो । यद्यपि, उनको विद्युतीय गाडी कम्पनी टेस्लाको सेयरमा उतार–चढावका कारण बुधबार बिहान पाँच खर्ब १० अर्ब डलर पुगेको सम्पत्ति केही समयमै झरेर चार खर्ब ९९ अर्ब १० करोड डलरमा पुगेको फोब्र्सको रियल–टाइम बिलियनेयर्स ट्रयाकर मा उल्लेख छ ।

विश्वका अन्य धनी व्यक्तिहरू
मस्कपछि दोस्रो स्थानमा ओरेकलका सिइओ ल्यारी एलिसन तीन खर्ब ५० अर्ब ७० करोड डलर नेटवर्थसहित रहेका छन् । तेस्रो स्थानमा मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्ग दुई खर्ब ४५ अर्ब ८० करोड डलर सम्पत्तिसहित अगाडि छन् ।

मस्कको यात्रा : विद्यार्थीदेखि उद्यमीसम्म
पेन्सिलभेनिया विश्वविद्यालयबाट स्नातक र स्ट्यानफोर्ड विश्वविद्यालयमा अध्ययन सुरु गरे पनि पूरा नगरेका मस्कले सन् १९९९ मा पहिलो ठूलो सफलता पाए । उनले आफ्नै अनलाइन प्रकाशन सफ्टवेयर कम्पनीलाई अमेरिकी कम्प्युटर निर्माता कम्प्याकलाई ३० करोड डलरभन्दा बढीमा बेचे ।

त्यसपछि सुरु गरिएको अर्को कम्पनी पछि पेपालसँग मर्ज भयो । त्यो उद्यम छोडेपछि दक्षिण अफ्रिकामा जन्मेका यी टेक उद्यमीले सन् २००२ मा अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्स स्थापना गरे । त्यसपछि सन् २००४ मा विद्युतीय कार निर्माता टेस्लाको अध्यक्ष बन्नुभयो र कम्पनीलाई विश्वकै अग्रणी प्रविधि व्यवसायमध्ये एकमा उभ्याए ।

दुई अंकको खर्बपति बन्ने सम्भावना
विशेषज्ञहरूको भनाइमा मस्कको सम्पत्ति वृद्धि टेस्ला, स्पेसएक्स र अन्य प्रविधि व्यवसायको तीव्र विस्तारसँग जोडिएको छ । हालको प्रगति हेर्दा उहाँलाई विश्वकै पहिलो दुई अंकको खर्बपति बन्ने सम्भावना निकट देखिएको छ । मस्कले आफ्नो व्यवसायिक साहस, नवीन सोच र प्रविधिमा लगानीमार्फत सम्पत्ति मात्र नभई विश्व अर्थतन्त्रको भविष्यलाई समेत पुनः परिभाषित गरिरहेको फोर्ब्सले टिप्पणी गरेको छ ।

भारतीयलाई भिजिट भिसा : ६ हजारलाई अवैधरुपमा तेस्रो मुलुक उडाइयाे

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिल्लो समय मानव तस्करीको ‘ट्रान्जिट हव’ को रुपमा परिणत हुँदै गएको देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको नाममा सात महिनामै ६ हजार भारतीय नागरिक तेस्रो मुलुक उडेको खुलासा भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानले सहसचिव तीर्थराज भट्टराई नेतृत्वमा संगठित टोलीले ‘नो अब्जेक्सन सर्टिफिकेट (NOC) विना नै यो कार्य गरेको खुलेको हो । भट्टराई २०८१ असोज २३ देखि विमानस्थल अध्यागमन प्रमुखको रूपमा कार्यरत रहँदा गैरकानुनी रूपमा भारतीय नागरिकलाई अमेरिका, क्यानडा र युरोपतर्फ पठाइएको पाइएको हो । प्रतिव्यक्ति एक हजारदेखि दुई हजार अमेरिकी डलरसम्म असुली यस्तो अवैध काम गरिएको विवरणमा उल्लेख छ । अनुसन्धानकर्ताहरूका अनुसार सो रकम बिचौलियादेखि गृह प्रशासनको उच्च तहसम्म पुगेको आशंका गरिएको छ ।

छापा, नियन्त्रण र प्रारम्भिक संकेत
गत ७ जेठमा आयोगले अध्यागमन कार्यालयमा छापा मारी सहसचिव भट्टराईलाई नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा उनले उच्च तहको संलग्नता समेत संकेत गरेका छन् । अनुसन्धान अधिकृतका अनुसार तत्कालीन गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडीलगायतका संलग्नता छानबिनको घेरामा छन् ।

नक्कली NOC र भारतीय दूतावासको सहयोग

अनुसन्धानको क्रममा केही भारतीयले नक्कली NOC देखाएर विदेश गएका थिए भने कयौंले त NOC नै नलिइकन यात्रा गरेका थिए । काठमाडौंस्थित भारतीय दूतावासले NOC जारी भएकाहरूको विवरण उपलब्ध गराएपछि धेरै अनियमितता खुल्न आएको हो ।
सुन तस्करीका अभियुक्त पनि भागे विमानस्थलबाट

२०७९ चैतमा भएको ९५.५ किलो सुन तस्करी प्रकरणमा संलग्न देखिएका जागेश्वर शाहलाई कालोसूचीमा राखिएको भोलिपल्टै उनी विमानस्थलबाट दुबई भागेको छानबिनमा देखिएको छ । उनका छोरा आसिफ शाह भने दूतावासको पत्र आउनुअघि नै विदेश पुगेका थिए ।

राजनीतिक संरक्षण र अनुसन्धानमा अवरोध
गृहमन्त्री लेखक कार्यकालमा दुई पटक छानबिन गर्न आग्रह गरिएको भए पनि गृह मन्त्रालयले चासो नदेखाएपछि प्रधानमन्त्री कार्यालय हुँदै अख्तियारले निगरानी बढाएको थियो । छानबिनकै बीच भट्टराईको सरुवा भएपछि सूचना चुहिएको आशंका गरिएको छ ।

भिजिट भिसा गिरोह : ट्राभल एजेन्सी र सचिवालयसम्म सम्बन्ध

अनुसन्धानका क्रममा भट्टराई ट्राभल एजेन्सी सञ्चालकहरूसँग नियमित सम्पर्कमा रहेको देखिएको छ । विशेष गरी ग्रिनलाइन होलिडेजका सञ्चालक बालकृष्ण खड्कासँग बारम्बार सम्पर्क भएको कल विवरणबाट पुष्टि भएको हो। संकलित रकमको व्यवस्थापनमा सीआईएसटी कलेजकी कर्मचारी कविता पौडेल र भक्तपुरका खगेन्द्र सुवेदीको संलग्नता समेत अनुसन्धानमा आएको छ।

स्पेन प्रकरण : अन्तर्राष्ट्रिय सम्मेलनको आवरणमा मानव तस्करी

संयुक्त राष्ट्रसंघीय सम्मेलनको बहानामा स्पेन पठाइएका नेपालीहरूबारेको अनुसन्धान भने बीचमै अलपत्र परेको छ । १५ लाख रुपैयाँसम्म असुलेर ११७ नेपाली दिल्ली हुँदै स्पेन प्रवेश गराएका थिए । अधिकांश फिर्ता आए पनि ठूलो संख्यामा भारतीय विमानस्थल हुँदै गएका नेपाली युरोपमै हराएको पाइएको छ ।

बीपी राजमार्गमा आजदेखि रातको समयमा गाडी चलाउन रोक

काठमाडौं । व्यापक वर्षाको सम्भावना देखिएपछि बीपी राजमार्गमा आज असोज १६ देखि २० गतेसम्म रातको समय अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

काभ्रे जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गरी असोज १६ गते बिहीबारदेखि २१ गते मंगलबारसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गको काभ्रे भञ्ज्याङ–भकुण्डेबेंसी–सिन्धुली सडक खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारीसाधन आवागमन निषेध गरिएको जानकारी दिएको हो ।

यस्तै रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारीसाधनहरू रोक्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुस् सूचना

व्यासमा खोलियो नौं किलोमिटर नयाँ ‘ट्रयाक’

तनहुँ । विकास–निर्माणका गतिविधिलाई केन्द्रमा राखेर क्रियाशील व्यास नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा नौ किलोमिटर नयाँ ‘ट्रयाक’ खोलेको छ ।

प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार नगरपालिकाले गत आवमा ३.९४ किलोमिटर सडक कालोपत्र र ढलान गरेको छ । हालसम्म नगरपालिकाका १०५ किलोमिटर सडक कालोपत्र र ढलान भएका छन् । यी पालिकाका भित्री सडक पनि हुन् । सोही आवमा एउटा पक्की पुल र पाँच वटा उद्यान पनि निर्माण भएका छन् । साथै ४९६ घरमा स्वच्छ खानेपानीको प्रबन्ध भएको छ ।

एक हजार ५४ आयोजना सम्पन्न

नगरपालिकाले गत आवमा वर्ष एक हजार ५४ आयोजना सम्पन्न गरेको छ । एक हजार २१ उपभोक्ता समिति र ३३ वटा आयोजना ठेक्कामार्फत सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले जानकारी दिए । पूरा भएका १६ वटा आयोजना रु ५० लाखभन्दा बढी लागतका, एक सय ६६ वटा आयोजना रु पाँच लाखदेखि ५० लाखसम्मका र आठ सय ७२ आयोजना रु पाँच लाखभन्दा कम लागतका हुन् ।

नेपाल मलेसियासँग पराजित

काठमाडौं । नेपाल मलेसियाविरुद्धको टी– २० सिरिजको पहिलो खेलमा तीन रनले पराजित भएको छ । मलेसियाले दिएको १०५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०१ रन मात्रै बनाउन सक्यो ।

नेपाललाई अन्तित ७ बलमा ७ रन आवश्यक थियो । तर, उक्त समयमा नेपालले सातौँ विकेट गुमायो । त्यसपछि ६ बलमा ७ रन आवश्यक रहेको नेपालले मात्रै ३ रन बटुल्यो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । सिरिजको दोस्रो खेल शनिबार हुनेछ ।

सुदन गुरुङ लक्षित हर्क साम्पाङकाे आरोप : यिनीहरु विदेशी पैसामा पालित दलाल हुन्

काठमाडौं । धरान उपमहानगरपलिकाका मेयर हर्क साम्पाङले जेनजी प्रतिनिधिहरुप्रति कडा आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले विदेशी दलालका टोली आफूलाई जेनजी प्रतिनिधि भन्दै हिँडेको भन्दै आरोप लगाएका हुन् ।

फेसबुकमा उनले लेखेका छन्, ‘विदेशी दलालका टोली आफूलाई जेनजी प्रतिनिधि भन्दै हिँडेका छन् । यिनीहरु विदेशी पैसामा पालित पोषित हुन् । सबैले बहिष्कार गरौं ।’

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७४ जना नेपालीले ज्यान गुमाएका छन् । जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधी सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । उक्त सरकारले फागुनमा प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।

तर, जेनजीहरु भने आफ्नो माग पूरा नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् । कार्कीको नेतृत्वका सरकार निर्माणमा हामी नेपाल नामक संस्थाका प्रमुख सुदन गुरुङले आफ्नो प्रभाव जमाएका थिए । जेनजी आन्दोलन अघि कुनै भूमिकामा नदेखिएका गुरुङ सरकार निर्माणमा भने एकाएक अगाडि आएका थिए ।

मलेसियाले नेपाललाई दियो १०५ रनको लक्ष्य

काठमाडौं । मलेसियाले अन्तर्राष्ट्रिय महिला ट्वेन्टी २० अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाललाई जितको लागि १०५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४ रनको योगफल बनाएको छ । मलेसियाको लागि कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २७ रन बनाइन्भने ओपनर ऐना हमिजा हसिमाले २६ रन बनाइन् ।

यो समाचार तयार पारिरहँदासम्म नेपालको लागि सुमन विष्टले दुई तथा रुविना क्षेत्रीले एक विकेट लिएका छन् । नेपाली महिला टोलीले आगामी जनवरीमा यहाँ आयोजना हुने टी–२० विश्वकपको ग्लोबल छनोट खेल्ने छ । सोही प्रतियोगिताको तयारीस्वरुप नेपाल अहिले मलेसियामा प्रतिस्पर्धा गरिरहेको छ ।

प्रधानमन्त्रीले जेनजी आन्दोलनका मृतकका परिवारलाई भेट्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका परिवारसँग भेट गर्ने भएकी छन् ।

प्रधानमन्त्रीले आज अपराह्न सौरनकिशोर श्रेष्ठ, कान्छी नगरकोटी र बुद्धिबहादुर तामाङका परिवारजनसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्की स्वर्गीय श्रेष्ठ, नगरकोटी र तामाङका शोकाकुल परिवारजनलाई भेट्न उनीहरूका परिवार रहेका स्थान क्रमशः काठमाडौँ महानगरपालिका–१६ बनस्थली, नागार्जुन नगरपालिका–३ र कीर्तिपुर नगरपालिका–२ मैत्रीनगर पुग्ने कार्यक्रम छ ।

राजमार्गका यात्रु प्रतीक्षालय रङ्ग्याउँदै झलारीका युवा

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका युवा दसैँका अवसरमा यात्रु प्रतीक्षालय रङरोगन गर्ने कार्यमा जुटेका छन् । उनीहरू स्थानीय व्यवसायीबाट रङ र आर्थिक सहयोग जुटाइ प्रतीक्षालयमा रङरोगन गर्न री चिटिक्क पार्ने कार्यमा जुटेका हु्न ।

वर्षौंदेखि रङरोगन नभएका र जीर्ण अवस्थाका प्रतीक्षालयमा रङ लगाउने र मर्मत गर्ने कार्य भएको युवा समाजसेवी जेनल विष्टले बताए । ‘साझा प्रयास र सहकार्यले मात्रै समृद्ध समाज निर्माण सम्भव हुन्छ । त्यसैले दसैँका बेला साथीभाइसँग रमाइलो गर्नेभन्दा समाजका लागि सिर्जनशील कार्य गरेर देखाउने छलफलपश्चात् यस कार्यमा जुटेका हौँ’, उनले भने ।

वन समिति र झलारीको नयाँ यात्रु प्रतीक्षालय रङरोगनको कार्य गरिएको र यस कार्यलाई दसैँपछि पनि निरन्तरता दिने योजना रहेको विष्टले बताए । उनले नगरपालिकाको पूर्व पश्चिम राजमार्ग क्षेत्रमा रहेका सबै प्रतीक्षालय रङरोगन र मर्मत गर्ने योजना सुनाए ।

यस अभियानमा व्यवसायी र स्थानीय वन समितिले पनि साथ दिएका छन् । युवाहरुले प्रतीक्षालय मात्र नभई बजार, धार्मिक तथा विद्यालयलगायत क्षेत्रमा पनि सरसफाइ गर्ने कार्यमा सहभागिता जनाउँदै आएका छन् । शुक्लाफाँटा नगरपालिकाका पूर्वनगर प्रमुख दिलबहादुर ऐरले युवाहरूले दसैँमा समाजका लागि अनुकरणीय कार्य गरेको बताए ।

जेनजी आन्दोलन : मधेसका २९७ कार्यालयमा क्षति

जनकपुरधाम । जेनजीको आन्दोलनमा मधेस प्रदेशका ९० वटा प्रहरी र २०७ वटा सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीबाट रु सात करोड ३१ लाख २२ हजार बराबरको क्षति भएको छ ।

क्षतिग्रस्त सबै कार्यालय मर्मतसम्भारपछि सञ्चालनमा आएका छन्भने आन्दोलनबाट विस्थापित प्रहरी पनि काममा फर्किएका छन् । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनकारीले रु दुई करोड छ लाख ७८ हजार तीन सय ८० मूल्य बरावरका सवारी साधन जलाएका छन् ।

सवारी दुर्घटनामा दुईको मृत्यु, १३ जना घाइते

झापा । झापाको बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी–स्टेट अगाडि आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् ।

विराटनगरबाट काँकडभिट्टातर्फ गइरहेको सगरमाथा यातायातको यात्रीवाहक बस दुर्घटना हुँदा सुनसरीको इटहरी नगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका सहचालक रङ्गेली नगरपालिका–२ का ४२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

घाइेत सबैको स्थानीय बि एण्ड सी अस्पतालमा उपचार भइरकेको छ । सबै घाइतेको अवस्था सामान्य रहेको प्रवक्ता खड्काले बताए । दुर्घटनापछि फरार भएका बस चालकको खोजी जारी छ ।

राष्ट्रपति पौडेलले लगाए मूल पुजारीबाट दसैंको टीका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राष्ट्रपति कार्यालय शितल निवासमा हनुमानढोकास्थित दसैंघरका मूल पुजारी देवराज अर्यालबाट दसैँको टीका लगाएका छन् ।

उनले बिहान ११ बजेर ५३ मिनेटको शुभ साइतमा टीका प्रसाद ग्रहण गरेका हुन् । तर राष्ट्रपति पौडेल आफूले भने यसपालि सर्वसाधारण नागरिकलाई टीका लगाइदिएनन् । देशको विषम परिस्थितिका कारण यस वर्ष उनले टीका लगाइ दिने कार्यक्रम नराखिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

ब्रह्मायणी जात्रा : बिहानैदेखि भक्तजनको भीड

भक्तपुर । प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड लागेको छ । नवदुर्गा शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा आज त्रिपुरा सुन्दरी प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ । रातिदेखि परेको वर्षाको समेत प्रवाह नगरी स्थानीय नेवार समुदायले रातिबाट नै भव्य रूपमा ब्रह्मायणी जात्रा मनाइरहेका छन् ।

आज बिहानैदेखि व्रत बसेकाहरू घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा पाँच, सात र १८ वटा दीप (दियो) बालेर ब्रह्मायणी मन्दिर जाने र पूजा गर्ने प्रचलन छ । सोहीअनुसार यहाँका बासिन्दाले शरीरमा बत्ति बालेर र शरीर नापेर ब्रम्हायणीसम्मको यात्रा पूरा गरेका छन् । यो परम्पराले मनोकांक्षा पूरा हुने, धर्म प्राप्त हुने जनविश्वास रहेको छ।

मन्दिरमा आज नवदुर्गा प्रकट हुने विश्वासका साथ दिनभरी नै भव्य मेला लाग्ने गर्दछ भने नेवार समुदायले मोहिनी नखः गरी घरघरमा कालो टीका लगाएपछि प्रत्येक घरबाट पूजा लिएर मन्दिर जानै पर्ने परम्परा छ ।

ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजनहरू आउने गर्दछन् ।

मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलीसमेत दिने गरिन्छ । गाँठेमङ्गलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक खःमेय अर्थात् राँगोलाई बुधबार साँझ नवदुर्गा मन्दिरबाट जाँड खुवाएर मत्ताएर अबिर र तेल दलेर दौडाउदै, लखेट्दै ब्रह्मायणी मन्दिर पुर्याएर बद्य गरसँगै यो जात्रा सुरु भएको हो ।

मौलिक पर्वले राष्ट्रिय एकताको भावना बलियो बनाउन सहयोग पुग्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विभिन्न चाडपर्वहरूले मुलुकमा राष्ट्रिय एकताको भावनालाई बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

बडादसैँका अवसरमा शुभकामना दिँदै उनले देशमा रहेको भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच एकता कायम गर्न यस्ता पर्वले महत्वपूर्ण योगदान पुर्‍याउने बताएका हुन् ।

‘नेपाल जस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा रहेका विभिन्न समुदायका मौलिक चाडपर्व र संस्कृतिको संरक्षण गर्न आवश्यक छ । यसले दिगो शान्ति र सामाजिक सहिष्णुता कायम गर्न सघाउ पुग्छ’, अध्यक्ष नेपालले भनेका छन्, ‘दसैँले सबै जाति समुदायलाई एकापसमा भ्रातृत्व र आपसी मेलमिलाप तथा राष्ट्र प्रेमप्रति प्रोत्साहित गर्नेछ ।’

उनले दसैँले असत्यमाथि सत्यको विजय सन्देश प्रवाह गर्ने, पारिवारिक मिलनका साथै हिमाल, पहाड र तराईका जनताबीच आपसी मित्रता, सहिष्णुता अभिवृद्धि गर्दै प्रगतिशील समाज निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनि कामना गरेका छन् ।

कुमारीलाई गराइयो तलेजुको दर्शन

काठमाडौं । नयाँ कुमारी आर्यतारालाई हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ । तलेजुको दर्शनबाट जीवित देवी कुमारीलाई शक्ति प्राप्त हुने जनविश्वास छ ।

वसन्तपुरस्थित कुमारीघरबाट भैरव, गणेशको यात्रासहित कुमारीलाई तलेजु पुर्याइएको कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले बताए । तान्त्रिक रूपमा दीक्षित पुजारीले कुमारीलाई तलेजु भवानीको दर्शन गराएका हुन् ।

डाँडाखेत–राहुघाट प्रसारण आयोजना अन्तिम चरणमा

म्याग्दी । डाँडाखेत–राहुघाट प्रसारण आयोजना अन्तिम चरणमा पुगेको छ । म्याग्दी र राहुघाट ‘बेसिन’ का विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गरिने यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत भएको हो ।

आयोजना प्रमुख रोशन अग्रवालका अनुसार चार वर्षमा उक्त प्रगति भएको हो । वन क्षेत्र व्यवस्थापन, ‘सबस्टेन, टावर’ निर्माणलगायत काममा विना व्यवधान सम्पन्न नहुँदा आगामी कात्तिक ३० सम्ममा बाँकी काम पूरा गर्न असम्भव प्रायः छ ।

मालिका गाउँपालिका–७ डाडाखेतदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ सम्म २५ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै स्थानमा सबस्टेशन निर्माण गर्न चार वर्षअघि रु. तीन अर्ब ५७ करोडमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । हालसम्म ४५ वटा ‘डबल सर्किट टावर’ निर्माण भइसेकाका छन् भने १४ वटा निर्माणाधीन छन् ।

म्याग्दी नदीमा एक सय ७२.८ मेगावाट क्षमताका चार वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । राहुघाटमा ३५.५ मेगावाटको चिमखोला–राहुघाट–मंगले, ४८ मेगावाटको अपर राहुघाट र २१.३ मेगावाट क्षमताको ठुलोखोला जलविद्युत आयोजनाले उत्पादन थालेका छन्।

चालिस मेगावाट क्षमताको राहुघाट र २३ दशमलब पाँच मेगावाटको माथिल्लो ठूलोखोला आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुदी पावरले बनाएको चिमखोला–राहुघाट–मङ्गले र संयुक्त ऊर्जाको ठूलोखोला आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रसारण लाइनमा बिजुली प्रवाह गरेका छन् ।

मन्त्री पुनको दावी : छोरीको पढाइ र पारिवारिक खर्चमा सहयोगीहरूको भर छ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्ना पारिवारिक खर्च र छोरीको अध्ययनसम्बन्धी उठेका प्रश्नहरूबारे सामाजिक सञ्जालमार्फत प्रष्ट पार्दै सहयोगीहरूप्रतिको आभार व्यक्त गरेका छन् ।

हालै उनकी छोरी बंगलादेशमा महँगो खर्चमा पढिरहेको विषयलाई लिएर सामाजिक सञ्जालमा केही आलोचना र जिज्ञासा उठिरहेका बेला मन्त्री पुनले स्पष्ट पारेका हुन् कि पारिवारिक खर्च—चाहे आफ्नो होस् वा श्रीमती र छोरीहरूको—आफूले होइन, साथीभाइ र शुभचिन्तकहरूले आवश्यक पर्दा पुर्‍याउने गरेका छन् ।

‘मन्त्री भएको हुँ भन्दैमा म तलब भत्ता लिदिनँ, यात्रा खर्च पनि आफै तिर्छु’, भन्दै पुनले लेखेका छन्, ‘३२ वर्षअघि अमेरिका फर्केर आएको एक जनाले सयौं गाउँमा इन्टरनेट पुर्‍याउने, राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने, कोरोनामा निःशुल्क स्वास्थ्य सामग्री वितरण गर्ने, वीरगञ्जको बन्द कृषि औजार कारखाना पुनः सञ्चालन गर्ने काम कसरी सम्भव भयो-यस्तो लागे मेरो आत्मकथा पढ्नुस् ।’

उनका अनुसार आफ्ना छोरीहरूको पढाइ मेत आवश्यक परे सहयोगी र साथीहरूले सहयोग गरिदिन्छन् । उनले यहि प्रसङ्गमा लेखेका छन्, ‘अहिलेसम्म मलाई र परिवारलाई पाल्ने, पढाउने काम शुभेच्छुकहरूले नै गरेका छन् ।’

पुनले आफूलाई लक्षित गरेर उठाइएका प्रश्नहरूलाई सामान्य रूपमा लिँदै आफ्ना विगतका कामहरूको आधारमा जनसमर्थनले नै आफूलाई टिकाइरहेको पनि संकेत दिएका छन् । ‘बात कर्ता है’, भनी पोस्टको अन्त्य गर्दै उनले आत्मकथा पढ्न आग्रह समेत गरेका छन् ।

संविधानको मार्गदर्शनअनुसार समस्या समाधान गर्न सकिन्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मार्गदर्शनअनुसार वर्तमान चुनौती र समस्या समाधान गर्न सकिने बताएका छन् । बडादसैँ २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले साझा जिम्मेवारी र सहकार्यमार्फत समस्याको समाधान गर्न सकिने बताएका हुन् ।

मुख्यमन्त्री आचार्यले सुशासन प्रवद्र्धन र भ्रष्टाचार अन्त्यका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए । युवापुस्ताको सोचअनुसार कामलाई गतिशील बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले शक्तिस्वरूपा दुर्गा भवानीले सत्य, न्याय, सहकार्य र अग्रगमनको बाटोमा अघि बढ्ने प्रेरणा दिऊन् भन्ने कामना गरेका छन् ।

मुख्यमन्त्री आचार्यले बडादसैँले नेपालीबीच आपसी भ्रातृत्व, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । ‘चाडपर्वले सबै जातजाति र धर्मावलम्बीहरूको साझा फूलबारीका रूपमा रहेका र यी पर्वहरूले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर साझा पहिचानलाई सबल बनाउन मद्दत गरेका छन्’, सन्देशमा भनिएको छ, ‘हाम्रा कला–संस्कृति, रीतिथिति र परम्पराहरू नै हाम्रो अमूल्य सम्पदा हुन् । यिनको संरक्षण, प्रवद्र्धन र विकासमार्फत प्रदेशको समृद्धिको चाहना पूरा गर्न सकिन्छ भन्नेमा हामी दृढ छौँ ।’

प्रदेश गौरबका दुई सडक योजनाको काम बढेन अगाडि

पर्वत । गण्डकी प्रदेश सरकारअन्तर्गत पर्वतमा निर्माणाधीन दुई सडक आयोजना निर्माण सुरु भएको छ वर्ष हुँदा पनि सम्पन्न भएका छैनन् ।

जिल्लाको जलजला गाउँपालिकामा पर्ने मिलनचोक–सल्यान–घाखेत–धारापानी ठोट्नेरी सडक र लुंखुदेउराली–मिलनचोक– बालाकोट–होश्राङदी सडक अलपत्र अवस्थामा छन् । दुई वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का लगाइएका यी सडक छ वर्षसम्म पनि पूरा हुन सकेका छैनन् ।

२८ करोड १३ लाखमा काम सुरु भएको मिलनचोक–सल्यान–घाखेत–धारापानी ठोट्नेरी सडकको हालसम्म ६४ प्रतिशत मात्रै प्रगति भएको छ। यो खण्डमा मिनचोकदेखि सल्यानसम्म कालोपत्र भए पनि सल्यानदेखि घाखेत हुँदै धारापानीसम्म काम अगाडि बढेको छैन । सडक सम्पन्न गर्न पटकपटक म्याद थपे पनि विभिन्न बहाना बनाउँदै ढिलासुस्ती गरिरहेको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले बताए ।

दश किलोमिटर सडकमा स्तरोन्नति गर्ने योजनासहित काम सुरु भए पनि हालसम्म करिब चार किमी मात्र कालोपत्र भएको छ । अन्य खण्डको काम सुस्त गतिमा भएको कार्यालयले जनाएको छ । निर्माण सामग्री अभाव, भौगोलिक कठिनाइलगायत कारण देखाउँदै निर्माण व्यवसायीले आलटाल गरेको कार्यालय प्रमुख अर्यालले बताए ।

सडक कालोपत्र गर्न विसं २०७६ मङ्सिर ६ गते रु २८ करोड १३ लाखमा हिमदुङ एण्ड थोकर प्रालीसँग ठेक्का सम्झौता भएको थियो । प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमार्फत सञ्चालित यो सडक विसं २०७८ मंसिर ५ गते सम्पन्न गर्ने लक्ष्य थियो ।

यसैगरी, रु ११ करोड २२ लाख ६६ हजारमा निर्माण सम्झौता भएको लुंखुदेउराली–मिलनचोक– बालाकोट–होश्राङदी सडक पनि चार वर्षदेखि अलपत्र अवस्थामा छ । यो सडकखण्डमा हालसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति भएको कार्यालयले जनाएको छ । लामो समयदेखि निर्माण व्यवसायी सम्पर्कमा नआउँदा काम अगाडि नबढेको कार्यालय प्रमुख अर्यालले जानकारी दिए ।

पटक–पटक लिखित र मौखिक रूपमा काम थाल्न अनुरोध गरिए भए पनि निर्माण व्यवसायी सम्पर्कमा नआएको उनको भनाइ छ । सडक निर्माणका लागि रु चार करोड १३ लाख भुक्तानी भइसकेको छ । पछिल्लो पटक थप गरिएको अवधि पुस मसान्तमा पूरा हुँदैछ, तर ठेकेदार काममा नफर्किएको महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी भुसालले बताए ।

निर्माण व्यवसायीले नाली व्यवस्थापन नगरी भत्काएर छोडेकाले वडा नंं ५ काफलडाँडामा रहेको गाउँपालिका कार्यालय, बालाकोट र होश्राङ्दीका बासिन्दालाई दैनिक आउजाउ गर्न निकै सास्ती भइरहेको उनको भनाइ छ । पूर्वाधार विकास कार्यालय काम सुरु नगरे अब ठेक्का तोड्ने तयारी गरिएको जनाएको छ ।

राष्ट्रपतिले नागरिकलाई दशैंको टीका नलगाउने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन् । देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् । विगतमा राष्ट्रपतिबाट बडादशैंका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।

काठमाडौंका सडक सुनसान

काठमाडौं । विजयादशमीको बिहान आज काठमाडौँ उपत्यकाका सडक सुनसान जस्तै छन् । काठमाडौँबाट बाहिरका जिल्लामा दसैँ मनाउन जानेहरू गइसकेको र यही रहनेहरू घरघरमा टीकाको तयारीमा रहेकाले सडक न्यून सवारीसाधन आवागन भएको देखिन्छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडकमा यातायातका आवागमन न्यून प्रायः रहेको जनाएको छ । टीकाको समय सुरु भएपछि अन्य स्थानमा टीका लगाउन जाने र आउनेको चहलपहल भने बढ्ने कार्यालयले जनाएको छ । दसैँको नवमीका दिनसम्म छ लाख ११ हजार पाँच सय ५७ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएको कार्यालयको तथ्याङ्क छ ।

बेलायतमा कारको ठक्करबाट दुई नेपालीको मृत्यु

लन्डन । बेलायतको अल्डरसटमा कारको ठक्करबाट दुई वृद्ध नेपाली पैदल यात्रुको निधन भएको छ । फ्लिट रोडमा बुधबार बिहान करिब ६ः३० तिर निलो स्कोडा कारले ठक्कर दिँदा ७६ र ७७ वर्षीय दुई नेपाली पैदलयात्रीको घट्नास्थलमै निधन भएको ह्याम्पसायर प्रहरीले जनाएको छ ।

प्रहरीले मादक पदार्थ वा लागूऔषध सेवन गरी लापरवाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको आरोपमा कार चालक वकिङहाम निवासी ६६ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । ह्याम्पसायर प्रहरीले घट्नाको अनुसन्धान अगाडि बढाउँदै प्रत्यक्षदर्शीलाई जानकारी दिन अपिल गरेको छ ।

दुर्घटनास्थल वरपरको सीसीटीभी वा ड्यासक्याम फुटेज भए उपलब्ध गराउन प्रहरीको विशेष आग्रह छ । १०१ मा फोन गरी रिफरेन्स नम्बर ४४२५०४४३४८८ उल्लेख गरि जानकारी दिन सकिने प्रहरीले जनाएको छ ।

दशैंका बेला भएको यस दुःखद घटनाले बेलायतस्थित नेपाली समुदाय स्तब्ध छ । अल्डरसट बेलायतमा नेपाली जनसंख्या रहेको सबैभन्दा ठूलो शहर हो । तमुधिं यूके महासचिव डा. विशाल गुरुङले घट्नाप्रति दुःख व्यक्त गर्दै प्रहरी अनुसन्धानमा सघाउन स्थानीय समुदाय समक्ष अनुरोध गरेका छन् ।

 

दशैंको टीका कता फर्केर लगाउने ?

काठमाडौं । आज (असोज १६ गते) विजयादशमी, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै छ ।

टीका लगाउन आज बिहान ११ः५३ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार टीका लगाइमाग्ने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्कनु उपयुक्त हुन्छ ।

आजदेखि कोजाग्रत पूर्णिमासम्मै दसैँको टीका मान्यजनबाट ग्रहण गर्न सकिनेछ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा विजयादशमी मनाउने गरिएको हो ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाले टीका लगाइदिँदा तलको आशीर्वाद दिने चलन छ ।

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।

शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् । महिलाका लागि भनेर यस्तो आशीर्वाद दिने चलन पनि छ ।
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

अर्थात् जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा यी नाम गरेकी देवी तपाइँलाई धेरै धेरै नमस्कार छ ।