`

स्कटल्यान्ड बंगलादेशसँग ९० रनले पराजित

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा स्कटल्यान्ड बंगलादेशसँग ९० रनले पराजित भएको छ ।

बंगलादेशले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा स्कटल्यान्ड १०१ रनमा मात्रै समेटियो ।

शुक्रबार टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा बंगलादेशका कप्तान निगर सुल्तानाले अर्धशतकीय पारि खेल्दै ५६ रन बनाइन् । शोभना मोस्तारीले ४७ र जुअरिया फरडोसले २२ रन जोडिन् ।

कठिन लक्ष्य पछ्याउने क्रममा स्कटल्यान्डले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १०१ रन मात्र बनाउन सकेको हो ।

स्कटल्यान्डलाई सस्तैमा समेट्न बंगलादेशकी मारुफा अख्तरले तीन र सोर्ना अख्तरले दुई विकेट लिएकी थिइन् ।

उम्मेदवार अल्मल्याउने मतदाताको जवाफ (भिडियोसहित)

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो मध्यावधि निर्वाचन आउन करिब एक महिना बाँकी छ । उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगिरहेका छन् । मतदाताहरूसँग मत माग्दै ‘देश बनाउने’ आश्वासन बाँडिरहेका छन् । यस्तो आश्वासन सबैभन्दा बढी दिने दल रास्वपा हो ।

सोही दलबाट काठमाडौं–७ मा गणेश पराजुली उम्मेदवार छन् । अघिल्लोपटक पनि उनी यही क्षेत्रबाट निर्वाचित थिए । यसपटक फेरि मतदाताको घरदैलोमा मत माग्दै जाँदा उनलाई मतदाताले कसरी लिन्छन् ? हामीले पछ्याएका थियौँ ।

त्यस क्रममा उनले नेपाल भाषा खत्र्याकखुत्रुक बोल्दै सावित्री श्रेष्ठ नामकी मतदातासँग मत मागिन् । आफूभन्दा पनि पार्टी सभापति रवि लामिछानेदेखि वरिष्ठ नेता बालेन्द्र शाहलाई चिन्नुहुन्छ ? भन्दै मत मागेका उनलाई सावित्रीले रणनीतिक रूपमा मुन्टो हल्लाइन् ।

मनोवैज्ञानिकहरूका अनुसार मतदाता प्रष्ट रूपमा कुनै उम्मेदवारप्रति नखुल्दा टार्न त्यसो गर्दछन् । तैपनि गणेशले यसपटक पनि मत दिन आग्रह गरिरहे । घरदैलोमा रहेका केहीले घण्टीमा भोट दिनुपर्ने सन्दर्भ उप्काए । उनले हाँस्दै जवाफ दिइन्– ‘घण्टी त पूजा गर्नेबेला चाहिन्छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह झापा–५ मा चुनावी प्रतिस्पर्धामा छन् । यतिबेला झापाले देशको ध्यान खिचेको छ । यस सन्दर्भ पनि कोट्याउँदै ओली र उनको दलको चिह्न सूर्यको प्रसङ्ग जोडेका थियौँ ।

त्यसबेला उनले भनिन्, ‘सूर्य पनि चाहिन्छ । घण्टी पनि चाहिन्छ ।’

सावित्री एक प्रतिनिधि मतदाता हुन् । उनीजस्तै थुप्रै मतदाता आगामी प्रतिनिधिसभा निर्वाचनमा कसलाई मत दिने ? निर्णित छैनन् ।

इरानका ठूला अधिकारीहरू र उनीहरूका परिवारलाई अब अमेरिकामा बस्न नदिइने

काठमाडौं । अमेरिकाले इरानका ठूला अधिकारीहरू र उनीहरूका परिवारलाई अब अमेरिकामा बस्न नदिने निर्णय गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत यो जानकारी दिएको हो। मन्त्रालयका अनुसार, इरानका जनता आफ्ना आधारभूत अधिकारका लागि संघर्ष गरिरहेका बेला इरानी सरकारका उच्च अधिकारीहरूले अमेरिकामा बस्ने सुविधा लिनु गलत हो।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यही कारण देखाउँदै इरानका वरिष्ठ अधिकारीहरू र उनीहरूका परिवारको आवास अधिकार रद्द गर्ने निर्णय गरेका हुन्।

मन्त्रालयले भनेको छ कि इरानी जनतामाथि भएको दमनबाट फाइदा लिने मानिसहरूले अमेरिकी आप्रवासन सुविधाको लाभ लिनु हुँदैन।

यसैबीच, अमेरिकाको अटलान्टामा रहेको एमोरी विश्वविद्यालयले इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीकी छोरीलाई विश्वविद्यालयबाट निकालेको छ।

फातिमा अर्देशिर लारिजानी त्यहाँ क्यान्सर अनुसन्धान विभागमा काम गर्दै आएकी थिइन्। यो कुरा विश्वविद्यालयका एक शिक्षकले बीबीसी पर्सियनलाई बताएका छन्।

समृद्धि, सुशासन र दिगो विकास एमालेको स्पष्ट मार्गचित्र : ओली

S

बालेनले के काम गरे थाहा छैन, हामीलाई त उठिबास मात्रै गरे’ (भिडियोसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह भावी प्रधानमन्त्रीका घोषित उम्मेदवार हुन् ।

उनले यसअघि काठमाडौं महानगरपालिकाका प्रमुखको भूमिका तीन वर्ष निर्वाह गरे । उनै बालेनलाई रास्वपाले भावी प्रभानमन्त्रीका उम्मेदवारमा अघि सारेको छ ।

यस्तोमा नेपालवानएचडीले भुइँ मान्छेहरू चाहिँ बालेनलाई कसरी लिन्छन् ? बालेनप्रतिको बुझाइ उनीहरूमा कस्तो छ ? जान्न चाहेका थियौँ ।

त्यसक्रममा सडक आसपासमा सानोतिनो व्यापार गर्ने एक अर्धवैंशे महिलालाई सोध्यौँ– बालेन शाहलाई प्रधानमन्त्री भन्दैछन्, थाहा छ ?

जवाफमा उनले भनिन्, ‘त्यो त थाहा भएन । कसलाई के भन्छन् ? भन्छन्, हामीलाई थाहा हुँदैन ।’ फेरि प्रश्न गर्‍यौँ– तपाईं त काठमाडौंको वासी हो नि त । बालेन मेयर हुँदा केही काम गर्नुभयो कि भएन उहाँले ?

उनले फ्याट्टै भनिन्, ‘बालेन मेयर हुँदा हाम्रो त भएभरको सामान लगे त्यत्ति हो ।’ बालेन मेयर हुँदा उनले गरेको थप कामबारे पनि उनको धारणा बुझ्न चाह्यौँ र सोध्यौँ– तर, काम गर्नु भयो कि भएन ?

उनले बालेनले आफ्ना ठाउँमा गरेको होलान् भन्दै आफूहरूका लागि केही नगरेको बताइन् । उनले बालेनले आफूहरूलाई उठाउने मात्रै काम गरेको भन्दै गुनासो गरिन् ।

बालेन मेयर हुँदा काठमाडौं महानगर क्षेत्रको सडक र सडक किनारमा ठेला गाडामा मकै पोल्ने र तरकारी बेच्नेहरूले हत्तु हैरान बेहोरेका थिए ।

बालेन त्यसबेला भुइँमान्छे विरोधी मेयर भन्दै आलोचित भएका थिए ।

जेन–जी विद्रोहको बेला कारागारबाट फरार, समूह बनाएर लुटपाट (भिडियोसहित)

काठमाडौं । गत भदौ २४ गते जेन–जी विद्रोहको मौका छोपेर कारागारबाट फरार भएका कैदीहरूले समूह नै बनाई संगठित लुटपाट गरेको पाइएको छ ।

प्रहरी परिसर काठमाडौंले मुलपानी क्षेत्रमा बुधबार राति १० जना लुटेराहरूको समूहलाई गोली हानेर पक्राउ गरेर अनुसन्धान गर्दा यस्तो तथ्य बाहिर आएको हो ।

लुटेराहरूको नाइके हुन् – डाँका मुद्दाका प्रतिवादी २३ वर्षीय विनय तामाङ । उनी काभ्रेका भुम्लु गाउँपालिका– ३ का हुन् । जेन–जी विद्रोहको क्रममा कारागारबाट फरार भएका उनी लुटेराहरूको नाइके भएको पाइएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनले नै आफूसहित १० जनाको टोली नै खडा गरेर मुलपानी क्षेत्रमा लुटपाट आतंक मच्चाएको परिसरका एसएसपी रमेश थापाले बताए ।

तामाङकै योजनामा रातको समयमा उक्त समूहले सुनका गरगहना, नगद, मोबाइल लुटपाट गर्ने गरेको पाइएको थापा बताउँछन् ।

पक्राउ पर्नेमा सिन्धुलीको मरिण गाउँपालिका–५ का २४ वर्षीय आयन माझी, मरिण– ७ का ३२ वर्षीय सविन माझी, खोटाङ ज्वलेर्समा काम गर्ने मोरङ पथरीका २३ वर्षीय मनिस रमाइली, काभ्रेको चौरी देउराली–१ का २९ वर्षीय पेमा तामाङ, चौरी देउराली–१ कै २० वर्षीय सलोन तामाङ, काभ्रेको भुम्लु–१ का १८ वर्षीय राजीव भण्डारी, रामेछापको दोरम्बा–८ का ३२ वर्षीय विशाल तामाङ, खोटाङ घर भएका सुनचाँदी कालिगढ २८ वर्षीय विदूर विश्वकर्मा र सिन्धुपाल्चोकको लिसंखुपाखर–३ का २९ वर्षीय फुर्वा तामाङ रहेका छन् ।

लुटेराहरूको नाइके भनिएका तामाङ घाइते छन् । एसएसपी थापाका अनुसार मुलपानी क्रिकेट मैदान नजिकै प्रहरीले चेकिङ पोस्ट थापेको र प्रहरीले रोक्न खोज्दा उल्टै प्रहरीलाई पेल्दै मोटरसाइकल अघि बढाएको थिए ।

त्यस क्रममा प्रहरीसँग धक्कामुक्की गरेको र जवाफी कारबाही गर्दा विनयको खुट्टामा गोली लागेको एसएसपी थापाको भनाइ छ ।

उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको थापाले बताए ।

 

गणतन्त्र अन्त्य हुँदा भ्रष्टाचार अन्त्य हुन्छ : डा. सुरेन्द्र भण्डारी (भिडियोसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डा. सुरेन्द्र भण्डारीले भ्रष्टाचार अन्त्य नभए मुलुकको भविष्य नभएको दाबी गरेका छन् ।

राप्रपाबाट काठमाडौं–४ मा उम्मेदवार बनेका भण्डारीले भ्रष्टाचार अन्त्य भए सबैथोक ठिक हुने बताए ।

‘आज मुलुकको कुनै ठूलो समस्या छ भने त्यो भ्रष्टाचार हो । जबसम्म हामी भ्रष्टाचारको अन्त्य गर्न सक्दैनौँ, तबसम्म यो मुलुकमा युवाको पनि भविष्य छैन, मुलुकको पनि भविष्य छैन र प्रणालीले पनि काम गर्न सक्दैन,’ उनले भने ।

प्रणालीले काम गर्न सक्ने बनाउन, युवाहरूलाई रोजगारी सिर्जना गर्नसँगै युवाहरूले आफ्नै मुलुकमा भविष्य देख्नका लागि भ्रष्टाचारको अन्त्य जरुरी रहेको बताए ।

तर, भ्रष्टाचारको अन्त्य गणतन्त्रको अन्त्यपछि मात्रै सम्भव हुने बताए ।

शान्तिपूर्ण निर्वाचनलाई अल्गोरिदमको चुनौती : सामाजिक सञ्जालमा छ्याप्छ्याप्ति हिंसा भड्काउने सामग्री

काठमाडौं । ‘भोट कल्लाई  दिने बुवा ? बालेन शाहलाई कि केपी ओलीलाई ?’
‘बालेन शाहलाई दिने भोट।’
‘केपी ओलीलाई भनेको भए यही इँटाले हानेर टाउकोसाउको फोड्दिन्थेँ।’

यो संवाद वासुदेव चलाउने नामक टिकटक प्रयोगकर्ताले पोस्ट गरेको भिडियोको हो। भिडियो पोस्ट भएको चौथो दिन बिहानसम्ममा २६ हजार १ सयभन्दा बढी लाइक, ३९२ कमेन्ट, ७५० सेभ र ६ हजार ४५१ शेयर देखिएका छन्।

चलाउनेको अडियो प्रयोग गरेर थप १० वटा भिडियो बनिसकेको देखिन्छ। तर, यही संवादलाई आधार बनाएर सयौं प्रयोगकर्ताले टिकटकमा फरक–फरक शैलीमा भिडियो बनाइरहेका छन्।

यस्तै अर्को भिडियोमा एउटा बालकले सोध्छ, ‘भोट कसलाई हाल्छस् ए सौरे!’
जवाफ आउँछ, ‘बालेनलाई नि हो, कसले हाल्छ केपीलाई?’
त्यसपछि प्रश्न गर्ने बालक भन्छ, ‘धन्न, केपीलाई भनेको भए ढुंगाले हानेर मारिदिन्थेँ।’

यस्तै संवाद भएका अडियो प्रयोग गरेर टिकटकमा सयौं भिडियो बनिसकेका छन्। पहिलो पटक मिलन लामा नामक प्रयोगकर्ताले यस्तो भिडियो पोस्ट गरेको देखिन्छ।

त्यसपछि अरू १२ प्रयोगकर्ताले यही अडियोमा भिडियो पोस्ट गरे पनि यससँग मिल्दोजुल्दो संवाद राखेर बनाइएका सामग्री अहिले टिकटकमा व्यापक रूपमा भाइरल बनेका छन्। यस्ता भिडियोहरू फेसबुक र इन्स्टाग्रामको रिल सेक्सनमा पनि छ्यापछ्याप्ति देख्न सकिन्छ।

यसबाहेक परिवारभित्रै आफूले चाहेको चुनाव चिन्ह, उम्मेदवार वा पार्टीलाई भोट दिन्नँ भन्ने श्रीमान्-श्रीमती, परिवारका अन्य सदस्य वा अन्य व्यक्तिलाई कुटपिट गरेको देखिने भिडियो पनि अहिले सञ्जालमा छाइरहेका छन् ।

यस्तै, एमाले वा कांग्रेस जस्ता पुराना दललाई भोट दिन्छु भन्ने परिवारका जेष्ठ सदस्यलाई घरबाट निकालेको देखाउने भिडियोहरू पनि टिकटक र फेसबुकका रिल्समा देख्न सकिन्छ । यस्ता भिडियोहरूले राजनीतिक मतभेदलाई व्यक्तिगत/भौतिक हिंसामा अभिव्यक्त भएको देखाइरहेका छन् ।

हिंसाको प्रबर्द्धन

यस्ता हिंसात्मक सन्देशले भरिएका सामग्रीले समाजमा पार्ने प्रभावबारे चिन्ता बढ्दै गएको छ। आइटी विज्ञ दोभान राई यस्ता सामग्रीलाई सामान्य मनोरञ्जनका सामग्रीका रूपमा मात्रै लिन नमिल्ने बताउँछिन। ‘प्रयोगकर्ताले यस्ता सामग्री मनोरन्जनात्मक उद्देश्यले बनाएका हुनसक्छन्,’ उनी भन्छन्, ‘तर, यस्ता सामग्रीलाई मनोरञ्जनका लागि बनाइएको भनेर सामान्य रूपमा लिनु हुँदैन ।’

यस्ता सामग्रीले मानिसको मनोविज्ञानमा दीर्घकालिन प्रभाव पार्ने उनको भनाइ छ।

‘यसले मानिसको दिमागमा हिंसाको भावना प्रवेश गराउँछ,’ उनी भन्छिन्, ‘र, हिंसाको कल्पना दिमागमा बस्दै जान्छ र पछि व्यवहारमा रूपान्तरण हुनसक्छ ।’

उनका अनुसार सामाजिक सञ्जालमा व्यक्त गरिएका अभिव्यक्तिहरूले वास्तविक घटनालाई प्रेरित गरिरहेको हुन्छ ।

‘सिंहदरबार जलाउँछु भन्ने अभिव्यक्तिपछि भएको पछिल्लो आगजनीले डिजिटल भनाइ कसरी वास्तविक हिंसामा बदलिन सक्छ भन्ने देखाएको छ,’ राई भन्छिन्।

यस्ता सामग्रीलाई व्यापक बनाउन सामाजिक सञ्जाल प्लेटफर्मका अल्गोरिदम पनि जिम्मेवार हुने राईको भनाई छ । यस्ता सामग्रीमा प्रयोगकर्ताको ‘इन्गेजमेन्ट’ धेरै हुने हुनाले छिटो फैलन्छन् । यति मात्रै नभएर प्रयोगकर्ताले ‘ट्रेन्ड फलो’ गर्ने हुनाले यस्ता सामग्रीहरूको संख्या गुणा हुँदै जान्छ । बारम्बार यस्ता सामग्री देखेपछि हिंसालाई सामान्य रूपमा लिने मनोविज्ञानको विकास हुन सक्ने तर्फ सचेत हुनुपर्ने राई बताउँछिन् ।

सामाजिक सञ्जालमा भएका सामग्रीले प्रयोगकर्ताको मनोविज्ञानमा कस्तो असर पर्छ भन्ने विषयमा नेपालमा अहिलेसम्म गम्भीर अनुसन्धान नभएको साइबर सुरक्षा विज्ञ पूर्वडीआईजी राजिब सुब्बा बताउँछन् ।

नेपालमा अनुसन्धान नभए पनि सन् २००४ मा प्रकाशित भएको जोन सुलेरको अनुसन्धानमुलक लेख सुरूवाती चरणको महत्वपूर्ण अनुसन्धान भएको सुब्बा बताउँछन् । ‘साइबर साइकोलोजी एन्ड बिह्याभियर’ नामक जर्नलमा प्रकाशित ‘द अनलाइन डिसइनहिबिसन इफेक्ट’ शीर्षकको यो लेखले विभिन्न ६ वटा प्रभावहरू व्याख्या गरेको छ ।

मानिसले अनलाइनबाट गर्ने व्यवहार प्रत्यक्ष वा भौतिक उपस्थितिमा गर्ने व्यवहारभन्दा उग्र र हिंसात्मक हुन सक्ने यो लेखले संकेत गरेको छ ।

यसपछिका दुई दशकमा यसबारे संसारभरी धेरै अध्ययनहरू भएका छन् । अनुसन्धाताहरूले ४४ वटा घटना अध्ययन गरी ‘युरोपियन जर्नल अफ इन्भेस्टिगेसन इन हेल्थ, साइकोलोजि एन्ड एडुकेशन’ नामक जर्नलमा सन् २०२४मा एक लेख प्रकाशित गरेका थिए, जसले सामाजिक सञ्जालका सामग्रीले मानिसलाई वास्तविक व्यवहारमा पनि बढी आक्रामक बनाउने निष्कर्ष निकालेको थियो ।

यस्तै, ‘इन्टरनेशनल जर्नल अफ एडोल्सेन्ट मेडिसिन एन्ड हेल्थ’ मा सन् २०२० मा पनि अनुसन्धानमुलक लेख प्रकाशित भएको थियो, जसमा ४४४ वटा घटनाहरूको अध्ययन गरिएको थियो । यसले सामाजिक सञ्जालमा हिंसासँग सम्बन्धित सामग्री हेरिरहँदा प्रयोगकर्ताको व्यहार पनि परिवर्तन हुँदै जाने देखाएका छन् ।

त्यसैले, आइटी विज्ञ राईले भनेजस्तै यस्ता सामग्रीहरूले चुनावमा हिंसात्मक घटना हुनसक्ने मात्रै होइन, दीर्घकालिन रूपमा समाजमा हिंसालाई सामान्यिकरण गर्ने खतरा रहेको देखिन्छ ।

हिंसात्मक सन्देश र घृणा व्यक्त गर्ने अभिव्यक्ति भएका सामग्री कसरी चाँडै फैलन्छन् र यसले हिंसालाई कसरी प्रबर्द्धन गर्छ भन्ने सन् २०१७ मा भएको म्यानमारको रोहिंग्या मुस्लिम विरोधी हिंसाको समयमा देखाएको छ ।

सन् २०१२ बाट म्यानमार स्थानीय बौद्ध र रोहिंग्या मुस्लिम समुदायबीच हिंसात्मक संघर्ष चर्किएको थियो । सन् २०१४ पछि फेसबुकले लगातार अल्पसंख्यक रोहिंग्या विरोधी भावना उक्साउने र उनीहरूविरुद्ध हिंसात्मक आक्रमण गर्ने सामग्रीहरूलाई प्रबर्द्धन गरेको आरोप लागेको थियो ।

सन् २०१८ मा फेसबुकले यसमा त्रुटि भएको स्वीकार गर्दै माफी मागेको थियो । यसमा सुधार गर्ने प्रतिबद्धता पनि जनाएको थियो ।

स्वाभाविक रुपमा अहिले पनि सामाजिक सञ्जाल प्लेटफर्महरूले धेरै मानिसको ‘इन्गेजमेन्ट’ हुने सामग्री चाँडो फैलने हुन्छ । सामाजिक सञ्जालको ‘अल्गोरिदम’ यसै अनुसार बनाइएको हुन्छ ।

आपत्तिजनक सामग्रीहरूमा ‘सामुदायिक मापदण्ड’ राखिए पनि यसले सबै किसिमका हिंसा प्रबर्द्धन गर्ने सामग्रीलाई समेट्न सक्दैन । यहाँ माथि उदाहरणका रुपमा लिइएका सामग्रीमा दृश्यमा कुनै हिंसा देखिँदैन, त्यसैले टिकटक र फेसबुकको मापदण्डले यसलाई हिंसा प्रबर्द्धन गर्ने सामग्री रुपमा पहिचान गर्दैन ।

कतिपय सामग्री स्थानीय सन्दर्भका आधारमा समेत आपत्तिजनक हो कि होइन भनेर बुझ्नुपर्ने हुन्छ । दोभान राई भन्छिन्, ‘बृद्ध आमाबाबुलाई घरबाट निकालेको भिडियोबारे पश्चिमा समाजको दृष्टिकोण फरक हुनसक्छ, तर हाम्रो सन्दर्भमा यो आपत्तिजनक हो ।’

साइबर सुरक्षाविद पूर्वडीआईजी राजिब सुब्बाका अनुसार व्यक्तिगत रुपमा कुनै प्रयोगकर्ताले बनाउने भिडियोले भने धेरै असर गर्दैन । तर,  निर्वाचनअघिको समय भएकाले कुनै पार्टीले साइबर सेना नै प्रयोग गरेर यस्ता सामग्री उत्पादन गर्न थाल्यो भने यसले निर्वाचनको परिणामलाई गलत रूपमा प्रभावित गर्ने र हिंसात्मक घटना निम्त्याउने खतरा रहेको औंल्याउँछन् ।

‘भाइरल भएर मल्टिप्लाई भयो र न्यारेटिभ नै बन्यो भने यसले निर्वाचनको परिणाम नै प्रभावित गर्न सक्छ,’ उनी भन्छन्, ‘यदि प्रतिद्वन्द्वी दल वा आईटी सेलले संगठित रूपमा प्रयोग गर्‍यो भने अवस्था डरलाग्दो हुन सक्छ।’

निर्वाचनमा सामाजिक सञ्जालले बनाउने न्यारेटिभ: सामाजिक सञ्जालको शक्ति

निर्वाचनको समयमा सामाजिक सञ्जालबाट कसरी गतल न्यारेटिभ बन्छ र यसले निर्वाचनलाई प्रमाणित गर्छ भन्ने देखाउन सुब्बा ‘क्याम्ब्रिज एनालिटिका स्क्याण्डल’को उदारहण दिन्छन् ।

बेलायतको राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले फेसबुक प्रयोगकर्ताका लागि एउटा एपमार्फत अवैध तरिकाले प्रयोगकर्ताको बारेमा विभिन्न जानकारी संकलन गरेको थियो ।

यो एपबाट प्राप्त डाटालाई विश्लेषण गरी मानिसहरूलाई मनोवैज्ञानिक विशेषताका आधारमा पाँच भागमा वर्गीकरण गरियो । यो कम्पनीले सन् २०१६ को अमेरिकी राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्पका लागि काम गरेको थियो ।

यो चुनावी अभियानमा उसले पहिले संकलन गरेको फेसबुक प्रयोगकर्ताको तथ्यांक प्रयोग गरी मतदातालाई प्रभावित गरेको थियो ।

‘हिलारी क्लिन्टन ‘वीच’ हो भन्नेसम्मको हल्ला फैलायो,’ सुब्बा भन्छन्, ‘यो हल्ला यति धेरै एम्प्लिफाइ भयो कि यसले न्यारेटिभ नै बनायो । यसले गर्दा धेरै स्वीङ स्टेटहरूको मत ट्रम्पको पक्षमा गएको थियो भन्ने पाइएको छ ।’

प्रयोगकर्ताको व्यवहार र मनोविज्ञान विश्लेषण गरी तयार पारिने सामग्रीलाई सामाजिक सञ्जालले कसरी लक्षित व्यक्तिसम्म पुर्‍याउँछ र समाजमा व्यापक राजनीतिक ध्रुवीकरण तथा हिंसात्मक मनोविज्ञान तथा घटना बढाउँछ भन्ने कुरा सन् २०२० सार्वजनिक भएको जेफ ओर्लोस्कीको डकुमेन्ट्री ‘द सोसल डिलेमा’ मा देखाइएको छ । यसले अमेरिकाको राष्ट्रपति निर्वाचनको समयमा सामाजिक सञ्जालले प्रयोगकर्तामा पार्ने प्रभावलाई देखाएको छ।

यी उदाहरणहरूले निर्वाचनको समयमा संगठित र योजनाबद्ध रूपमा यस्ता सामग्री उत्पादन र प्रयोग हुने खतरालाई स्पष्ट रूपमा देखाउँछ । यसले निर्वाचन परिणामलाई गलत रूपमा प्रभावित पार्ने सम्भावना त छँदैछ, हिंसात्मक सामग्री धेरै फैलँदा चुनावमा हिंसात्मक घटना बढ्न सक्ने संकेत दिइरहेको छ ।

सुब्बा समाजिक सञ्जालका कारण मुख्य चारवटा चुनौती बढ्ने बताउँछन्- जसलाई उनले ‘४ डी’ भनेका छन् । यसमा डेटा लिक (गोप्य जानकारी चोरी वा सार्वजनिक हुनु), डिसइन्फर्मेसन (भ्रामक सूचना), डिप फेक (प्रविधिको प्रयोग गरी बनाइने सही जस्तै लाग्ने झुटा सामग्री) र डीओएस अट्याक (प्रयोगकर्ताको पहुँच अवरूद्ध पार्नु) समावेश छन् ।

कृत्रिम बौद्धिकता अर्थात एआईमा भएको विकासका कारण अहिले भ्रामक सूचना र डिपफेक सामग्री तयार पार्न अझ सहज भएको छ । पछिल्ला केही वर्षमा एआई उन्नत मात्रै भएको छैन, यसमा सर्वसाधारण प्रयोगकर्ताको पहुँच पनि ज्यामितीय रूपमा बढेको छ । नेपालले यस्तो एआई प्रविधि प्रयोग गरी सामग्री सामाजिक सञ्जालमा फैलाउन मिल्ने परिस्थिति बनेपछि पहिलो पटक चुनाव गराउन लागेको हो ।

नेपालमा मिडिया र सामाजिक सञ्जालका विषयमा नजिकबाट नियालिरहेका पत्रकार तथा मिडिया कुराकानीका सञ्चालक रविराज बराल यस्ता सामग्री कसैले व्यक्तिगत रूपमा नै उत्पादन गरिरहेका हुन् भनेर ढुक्क हुन नमिल्ने बताउँछन् ।

‘चुनावको मुखमा बन्ने यस्ता सामग्री व्यक्तिगत रुपमा बनाएको हो भनेर ढुक्क हुनु हुँदैन,’ बराल भन्छन्, ‘चुनावी अभियानका लागि दलहरूले यस्ता सामग्री बनाइरहेका हुन सक्छन्, यसमा चनाखो रहनुपर्छ ।’

हामीले हेरेका यस्ता सामग्रीहरू अधिकांश बालेन वा रास्वपाका समर्थकले बनाएका छन् । केही सामग्री भने एमाले समर्थक प्रयोगककर्ताले पनि बनाएको देखिन्छ ।

नियमन कसले गर्ने?

विगतका उदाहरणहरूले यस्ता सामग्रीहरूमाथि निगरानी र नियमन हुनुपर्ने प्रष्ट पारेको छ । तर, यस्तो काम चुनौतीपूर्ण छ ।

नेपालमा अहिले भदौमा भएको जेन-जी विद्रोहको उपजका रूपमा निर्वाचन हुन लागेको हो। भदौ २३ गते विद्रोह सुरू हुनुको एउटा प्रमुख कारण मेटालगायतका विभिन्न सामाजिक सञ्जाल कम्पनीमा सरकारले लगाएको प्रतिबन्ध थियो । त्यसैले, सरकारले सिधै नियन्त्रणको प्रयास गर्ने अवस्था छैन ।

सामाजिक सञ्जालमा आउने सबै सामग्री नियन्त्रणमा नआउने राजिब सुब्बा बताउँछन् । ‘विश्वभरी नै यसबारे बहस चलिरहेको छ,’ उनी भन्छन्, ‘सामाजिक सञ्जालमा पोस्ट हुने सबै सामग्री नियन्त्रण गर्न नसकिने बताउँछन् ।’

तर, राजनीतक दल, संगठित समूह वा संस्थाहरूबाट हुने सामग्री भने नियमन गर्न सकिने र गर्नुपर्ने उनको सुझाव छ । ‘संसारका अधिकांश देशमा यस्तै व्यवस्था छ र हामीले पनि यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सक्नुपर्छ,’ सुब्बा भन्छन् ।

सामाजिक सञ्जालमा हुने सामग्रीहरु नियमन गर्न आवश्यक भए पनि यस्तो नियमनकारी निकाय सरकारको मातहत वा प्रभावबाट मुक्त रहनेगरि बनाउनुपर्ने उनको सुझाव छ । सरकारको मातहतमा यस्तो निकाय रहँदा सरकारले प्रतिरोधी आवाज दबाउन सामाजिक सञ्जालको प्रयोग गर्ने खतरा देखिएको उनी बताउँछन् ।

डा. दोभान राई भने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई जिम्मेवार बनाउनु नै सबैभन्दा महत्वपूर्ण रहेको ‍सुझाव दिन्छिन् ।

प्लेटफर्महरूले आफ्नो ‘कम्युनिटी स्ट्यान्डर्ड’  बनाएका हुन्छन्, तर यसले संसारभरी काम गर्न सक्दैन । सामग्रीमा भएका ‘भिजुअल’ मात्रै नहेरेर, संवाद र सन्दर्भसमेत हेरेर यस्ता सामग्री प्लेटफर्महरूले ‘फिल्टर’ गर्नुपर्ने व्यवस्था मिलाउनु पर्ने राईको सुझाव छ ।

‘सरकार, प्लेटफर्म र प्रयोगकर्ता सबैको भूमिका हुन्छ,’ उनी भन्छिन्, “प्लेटफर्महरूले स्थानीय सन्दर्भ बुझ्ने स्थानीय नियमनकारी राख्नैपर्छ।”

उनले सबै प्रयोगकर्ता व्यक्तिगत रूपमा जवाफदेही र जिम्मेवार हुनुपर्नेमा पनि जोड दिइन्। निर्वाचन आयोगको सन्दर्भमा भने उनले आयोगसँग यस तहका डिजिटल चुनौती व्यवस्थापन गर्ने पूर्ण क्षमता नहुन सक्ने बताइन्।

”कडाइ गर्‍यो भने अहिले नराम्रो असर पार्न सक्छ, त्यसैले आयोग सेफ प्ले गर्न खोजिरहेको देखिन्छ,’ उनी भन्छिन्, ‘तर, दीर्घकालीन समाधानका लागि आयोगले छुट्टै संयन्त्र निर्माण गर्नैपर्छ।’

हामीले कुरा गरेका तिनै जना विज्ञहरू राई, सुब्बा र बरालको जोड भने नागरिक अर्थात सामाजिक सञ्जाल प्रयोगकर्ताको सचेतना बढाउनमा नै छ । यो सबैभन्दा महत्वपूर्ण कदम रहेको उनीहरूको भनाई छ ।

के गर्दै छ आयोग र सरकार?

निर्वाचन आउन एक महिनाभन्दा केही बढी मात्रै समय रहेको हुँदा सामाजिक सञ्जालमा हिंसाको सन्देश प्रवाह भइरहेको छ । यसलाई नियन्त्रण गर्न सरकार र निर्वाचन आयोगको तर्फबाट ठोस कदम चालेको देखिएको छैन । डा.सुब्बाले भनेजस्तै व्यक्तिगत रुपमा प्रयोगकर्ताले तयार पार्ने सामग्री नियन्त्रण गर्न नेपालमा कानुन र संरचना छैन ।

निर्वाचन आयोगले भने निर्वाचनमा नराम्रो प्रभाव पार्न सक्ने सबै प्रकारका सामग्रीबारे अध्ययन भइरहेको र यस्ता सामग्रीलाई नियमन गरिने दाबी गरेको छ ।

नेपालवन एचडीसँग कुरा गर्दै आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार आयोगले अलग्गै साइबर सेल बनाएर सामाजिक सञ्जालमा आउने सामग्रीहरू अध्ययन गरिरहेको छ । यस्तो सेलमा चारवटै सुरक्षा संगठनका प्रतिनिधि पनि रहेको उनले जानकारी दिए ।

आपत्तिजनक सामग्री पोस्ट गर्ने प्रयोगकर्तालाई सचेत गराउने काम पनि आयोगले गर्न सक्ने उनले बताए ।

यसबाहेक बिहीबारसम्म आयोगमा करिब एक सय सामग्रीबारे उजुरी परेको उनले जानकारी दिए । यसबारे अध्ययन गरी थप छानबिन वा कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरिएको उनले बताए । प्रेस काउन्सिल, दूरसञ्चार प्राधिकरण, नेपाल प्रहरीको साइबर ब्युरोलगायतमा पत्राचार गरिएको उनले जानकारी दिए । आचारसंहिता उल्लंघनका १५ वटा घटनामा स्पष्टीकरण सोधिएको पनि उनले बताए ।

सामाजिक सञ्जालमा भएका सामग्रीहरू नियमित रुपमा आयोगले ‘मोनिटरिङ’ गर्ने र निर्वाचनमा हिंसात्मक घटनालाई उत्प्रेरित गर्ने सामग्री पाइएमा प्रयोगकर्तालाई सचेत गराउने देखि कानुनको दायरामा रहेर कारबाही गर्नका लागि सिफारिससम्म गर्ने रणनीति आयोगले लिएको छ ।

 

सरकारले बढायो प्रहरीको राशन स्केल र रकम (भिडियोसहित)

राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ गते जापान भ्रमणमा जाने भएका छन् ।
बिहीवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पौडेल नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

अर्यालकाअनुसार राष्ट्रपति पौडेल नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी माघ १८–२१ गतेसम्म तीन दिने भ्रमणमा जान लागेका हुन् ।

बैठकले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।
उनले भने, ‘२०८२-११-१ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरिएको छ ।’

आगामी फागुन १ गतेदेखि लागू हुनेगरी रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय गरिएको अर्यालको भनाइ छ ।

दुई सय दश वर्षपछि नालापानी किल्लामा लडेका खड्काको पहिचान खोजि

नालापानी किल्लामा लडेका कम्पनी कमाण्डर वीर योद्धा सुवेदार दयाराम खड्का लगायत युद्धका सबै वीर सपूतहरूलाई राज्यले आधिकारिक पहिचान दिनुपर्नेमा सरोकारवालहरुले जोड दिएका छन् ।

बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । बैठकमा इतिहासविद् डा. श्रीरामप्रसाद उपाध्यायले खड्काको राष्ट्रिय योगदानको विषयलाई विद्यालय पाठ्यक्रममा समावेश गरिनुपर्ने बताए। उनले नालापानीको लडाइँ नेपालको ऐतिहासिक गौरव भएको उल्लेख गर्दै युद्धमा प्रयोग भएका हतियारहरुलाई समेत संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले दयाराम खड्कालाई राष्ट्रिय विभूति घोषित गर्न समेत माग गरे ।

उनले भने, ‘हामीलाई नेपाली भनेर चिनाउने नै नालापानीको लडाइँ हो । दयाराम खड्काको योगदानले गर्दाखेरी नै ल आज हामी गोर्खाली भनेर चिनिन्छौं । सबैले लडाइँ छोडेर भाग्दा पनि उहाँ अन्तिम समयसम्म पनि लडिरहनुभयो, जसलाई अंग्रेजहरुले पनि सराहना गरेका छन् । उहाँको परिवार नै एकीकरणमा लागेको हो । त्यसकारण उहाँको योगदान भनेको नेपालको लागि ऐतिहासिक योगदान हो । उहाँको बारेमा पाठ्यक्रममा पनि समावेश गर्दै राष्ट्रिय विभूति घोषित गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।’

दयाराम खड्का स्मृति प्रतिष्ठान प्यूठानका अध्यक्ष कमलबहादुर खड्काले दयाराम खड्काको स्मृतिमा निर्मित प्रतिष्ठानको भौतिक संरचना समेत जिर्ण अवस्थामा रहेको भन्दै राज्यले त्यसको संरक्षण गर्नुपर्ने माग राखे । साथै, नेपालको एकीकरण र संरक्षणमा खड्काले दिएको योगदानको लागि उनलाई राष्ट्रिय विभूति घोषित गरी प्यूठानमै शालिक निर्माण गर्नुपर्ने माग राखे ।
उनले भने, ‘आज उहाँको स्मृतिमा निर्माण गरिएको प्रतिष्ठानको भवन समेत जिर्ण अवस्थामा रहेको छ । हामीले सरकारसँग उहाँले देशका लागि गर्नुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँहरुले लडाइँमा प्रयोग गर्नुभएका हतियारहरुको संरक्षण गर्नुपर्दछ भन्ने हाम्रो माग हो । प्यूठानमा उहाँको शालिक निर्माण गर्नुपर्ने पनि हाम्रो माग हो ।’

प्रतिष्ठानका सदस्य वेदबहादुर खड्काले दयाराम खड्काको युद्ध कौशल र योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गर्न माग गरे । खड्काले यु्द्धका क्रममा प्रयोग गरेका हातहतियार समेत संरक्षण गर्नुपर्ने उनको माग छ । उनले भने, ‘यो राष्ट्र निर्माण गर्नको लागि उहाँले जु्न बलिदान दिनुभयो । उहाँको युद्ध कौशल र योगदानको कदर गर्दै उहाँलाई राष्ट्रिय विभूति घोषणा गरिदिनुपर्यो‍‍ । उहाँले प्रयोग गर्नुभएका ऐतिहासिक हातहतियारहरुको हामी पूजा गरी बस्छौँ । तर अहिले ठाउँको अभाव छ । राज्यले एउटा राम्रो प्रतिष्ठानको भवन बनाइदिनुपर्‍यो ।’

बैठकमा बोल्ने अधिकांश सांसदहरुले नालापानी युद्धको पत्रहरूमा थप अध्ययन, अनुसन्धान गर्दै विज्ञहरूको सुझावका आधारमा राष्ट्रिय विभूति घोषणा गर्ने प्रक्रिया अगाडि बढाउन सकिने धारणा राखे ।

 

चुनाव गराउन भारतले दियो २५० गाडी, थप चार सय आउन बाँकी

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनार्थ भारत सरकारले नेपाललाई सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।

बिहीवार अर्थ मन्त्रालयमा एक कार्यक्रमबीच भारत सरकारले दङ्गा नियन्त्रण उपकरण र विभिन्न सवारी साधनहरू हस्तान्तरण गरेको हो । कार्यक्रममा अर्थमन्त्री खनालले बजेटमा निर्वाचनका लागि पर्याप्त व्यवस्था नभएको अवस्थामा भारतले गरेको यो सहयोगले नेपालको लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताए।

मन्त्री खनालले भारतलाई नेपालको ‘फर्स्ट रेस्पोन्डर’ का रूपमा चित्रण गर्दै सन् २०१५ को विनाशकारी भूकम्पको समयमा भारतले देखाएको तदारुकताको स्मरण पनि गरे। जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सवारी साधनहरू क्षतिग्रस्त भएको सन्दर्भमा यी नयाँ सवारी साधनहरूले सुरक्षा निकायको कार्यक्षमता बढाउने विश्वास व्यक्त गरिएको छ । अर्थमन्त्रीका अनुसार यी सामग्रीहरू सरकार आफैंले खरिद गर्नुपरेको भए राज्यलाई ठूलो आर्थिक भार पर्ने थियो । जसलाई भारतीय सहयोगले न्युनिकरण गरेको छ ।

उनले भने, ‘नेपाललाई संकट पर्दा भारत सधैं पहिलो सहयोगीका रूपमा उभिएको छ, चाहे त्यो भूकम्पको समयमा होस् वा अहिले निर्वाचनको पूर्वसन्ध्यामा ।’

नेपाल र भारतबीचको सम्बन्ध छिमेकी मात्र नभई एक भरपर्दो विकास साझेदारको समेत रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले भविष्यमा यो मित्रता अझ मजबुत हुने विश्वास व्यक्त गरे । भारत सरकारले नेपाल सरकारलाई उपहार स्वरुप दुई सय ५० ओटा सवारी साधन दिएको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ६ सय ५० सवारीमध्ये दुई सय ५० उपलव्ध गराइएको र बाँकी आगामी साताभित्रै उपलब्ध गराइने भारतीय अधिकारीले बताए । कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले चुनावका लागि लक्षित गरेर भारत सरकारले अनुदानमा दिएका सवारीहरु स्वीकार गरिएको बताए ।

सर्वोच्चको आदेशपछि मात्रै रवि-जीबीविरुद्धको आरोपपत्र संशोधन निवेदन पेश गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन रिटको टुंगो लागेपछि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर मुद्दाको आरोपपत्र संशोधन निवेदन पेस गर्न आदेश भएको छ।

जिल्ला अदालत रुपन्देहीले सरकारी वकिलहरूलाई यस्तो आदेश दिएको हो ।

अदादतका तहसिलदार कृष्णप्रसाद पौडेलका अनुसार यस्तो आदेश यही ६ माघमा भएको हो । आदेशमा भनिएको छ, ‘सर्वोेच्च अदालतमा त्यस विषयमा परेको रिटको टुंगो लागेपछि मात्र यो निवेदन पेस गर्नू ।’

महान्यायाधिवक्ता सविता भण्डारीले रवि लामिछानेसँगै जीबी राईलगायत प्रतिवादीहरूको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएकी छिन् ।

त्यसका लागि उनले जिल्ला अदालत काठमाडौं, कास्की, रुपन्देही र पर्सालाई आरोपपत्र संशोधनको निवेदन लिन निर्देशन दिएकी छिन्

तर, रुपन्देही अदालतले सर्वोच्च महान्यायाधिवक्ता भण्डारीको कदम बदरको माग गर्दै रिट दायर भएको भन्दै तत्काल सरकारी वकिल कार्यालयबाट रिट लिन अस्वीकार गरेको हो ।

सर्वोच्चमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफललगायतले रिट दायर गरेका हुन् ।

कम्बोडिया–थाइल्यान्ड सीमा विवाद समाधानमा अड्चन, आरबीसी बैठकबाट उपलब्धि शून्य

नोम पेन । कम्बोडिया–थाइल्यान्ड क्षेत्रीय सीमा समिति (आरबीसी) सचिवालयको तीन दिने बैठक दुई पक्षबीच कुनै पनि सहमति जुटाउन असफल भए पछि बिहीबार सम्पन्न भएको कम्बोडियाका रक्षा प्रवक्ता माली सोचेटाले  बताएका छन्।

कम्बोडियाको बान्टे मिन्चे प्रान्त र थाइल्यान्डको सा काओ प्रान्तबिचको पोइपेट अन्तर्राष्ट्रिय सीमामा आयोजित यो बैठक कम्बोडियाको पाँचौं सैन्य क्षेत्र र थाइल्यान्डको पहिलो सेना क्षेत्रबीच आसियान पर्यवेक्षक टोलीको अवलोकनमा भएको जनाइएको छ।

‘दुवै पक्ष अझै साझा आधारमा पुग्न सकेका छैनन्, यद्यपि, दुवै पक्ष सहमति नभएसम्म कागजात आदान – प्रदान र वार्ता जारी राख्न आ–आफ्नो मुख्यालयमा फर्कन सहमत भएको कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता सोचेटाले विज्ञप्ती जारी गर्दै बताएका छन्।

सहमतिपछि मात्रै कम्बोडिया–थाइल्यान्ड आरबीसी बैठक र कम्बोडियाको पाँचौं सैन्य क्षेत्र र थाइल्यान्डको पहिलो सेना क्षेत्रबीच औपचारिक हस्ताक्षर समारोह हुने उनेले बताए।

कम्बोडिया र थाइल्यान्डले सशस्त्र द्वन्द्वको नयाँ चरणको तीन हप्ता पछि सन् २०२५ को डिसेम्बर –२७ मा तत्काल युद्धविराम गर्न सहमत भएका थिए। रासस/सिन्ह्वा

दोहोरो अंकले नेप्से परिसूचक घट्यो

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ ।

नेप्से परिसूचक १७.५३ अंकले घटेर २७१३.०५ विन्दुमा अडिएको हो । अघिल्लो कारोबार दिन बुधबार परिसूचक ५.३८ अंकले बढेको थियो ।

यसदिन कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको छ । यसदिन ३२० वटा स्क्रिप्सको ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार ८६५ रुपैयाँमा खरिदबिक्री भए ।

बुधबार ११ अर्ब ४९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो । नेप्से परिसूचक दोहोरो अंकले घट्दा बिहीबार कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन ।

हिमालयन दोलखा हाइड्रोपावरको सेयर सर्वाधिक ९.२३ प्रतिशतले बढ्यो ।

तीन कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो । कर्पोरेट डेभलपमेन्ट बैंक, मैथिली लघुवित्त वित्तीय संस्था र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले ओरालो लाग्यो ।

कारोबारमा आएकामध्ये ८५ वटा स्टक्सको मूल्य बढ्दा १७० वटाको घट्यो । बाँकी ५ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो ।

तीनवटा समूहको उपसूचक बढ्दा अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन् ।

हाइड्रोपावर, इन्भेस्टमेन्ट र म्युचुअल फण्ड समूहको उपसूचक सकारात्मक देखिँदा अन्य समूहको उपसूचक भने नकारात्मक देखिएका छन् ।

 

राष्ट्रिय लिग फुटबलमा एनआरटीको लगातार चौथो जित

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा न्युरोड टिम (एनआरटी)ले लगातार चौथो जित निकालेको छ । बिहीबार संकटा क्लबविरुद्ध एनआरटीले ३–१ को जित निकाल्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा संकटाको जितमा कप्तान कृतिशरत्न छुन्जु र टिमोथी चिमेरी ओकेरेकेले १–१ गोल गरे भने १ गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । संकटका कृष्णबहादुर आलेले १ गोल फर्काए ।

एनआरटीलाई खेलको ११ औँ मिनेटमा कृतिशले गोल गर्दै अग्रता दिलाएका थिए । कृतिशको गोलले दबाबमा परेको संकटाका टाये ड्यानियल बडारुले दोहोरो पहेंलो कार्ड व्यहोर्दै २४ औँ मिनेटमै मैदान छाडेपछि संकटालाई झनै संकट आइप¥यो । खेलाडी १० जनामा सीमित भयो ।

यस्तोमा वेन्डपाङ्गा गिल्बर्ट बिल्गोबाट ५१ औँ मिनेटमा आत्मघाती गोल हुन पुग्दा एनआरटीको अग्रता दोब्बर भयो । ५ मिनेटपछि कृष्णले संकटाका लागि गोल फर्काए ।

तर, ओकेरेकेले ६७ औँ मिनेटमा एनआरटीका लागि तेस्रो गोल गरे । ८६ औँ मिनेटमा ओकेरेकेले नै दोहोरो पहेंलो कार्ड व्यहोर्दै मैदान छाडेपछि एनआरटी पनि १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै एनआरटीले ५ खेलमा १२ अंक जोडेको छ । पराजित संकटाको समान खेलबाट ५ अंक छ ।

रवि लामिछानेको अवस्था सामान्य, आजै डिस्चार्ज गर्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गर्ने तयारी भएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्रवक्ता तथा डिपुटी निर्देशक डा. गोपालप्रसाद सेडाईंका अनुसार उनलाई बिहीबार नै डिस्चार्ज गर्ने भएको हो ।

उनले लामिछानेको स्वास्थ्य अवस्था सामान्य भएको र साँझसम्ममा डिस्चार्ज गरिने बताएका छन् ।

लामिछाने सेलुलाइटिसबाट संक्रमित थिए । उनी यही ५ माघमा मधेसको राजधानी जनकपुरमा पार्टीको चुनावी सभालाई सम्बोधन गर्न पुगेका थिए ।

त्यसबेला उनको देब्रे खुट्टामा चोट लागेको थियो । निको नभएर छालामा इन्फेक्सन भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

अस्वस्थ भएपछि उनी चुनावी कार्यक्रमहरूमा जान असमर्थ भएका थिए ।

झापा-५मा एमालेको चुनावी अभियान तीव्र

दमक। नेकपा एमालेले झापा क्षेत्र नं. ५ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ ।

पार्टीले टोलस्तरीय बैठक, भेला, निर्वाचन परिचालन समिति लगायतका समिति उपसमिति गठन लगायतका काम एकसाथ अघि बढाएको छ । एमालेका केन्द्रिय, प्रदेश स्तरका तथा स्थानीय नेताहरू मतदातासँग प्रत्यक्ष संवादमा जुट्दै विगतका उपलब्धि र आगामी योजनाबारे जानकारी गराइरहेका छन् ।यस्तै युवा, महिला र किसानलाई लक्षित कार्यक्रममार्फत समेत एमाले सघन रुपमा मतदातामाझ पुगिरहेको छ ।

यसै क्रममा कमल गाउँपालिकाको वडा नंं ६ मा निर्वाचन परिचालन समिति सहित विभिन्न समिति गठन गरिएको छ । बिहिबार खयरवारीमा आयोजित भेलाले पार्टीका नेता मोहिनी खनाल संयोजक र निलकण्ठ निरौला सहसंयोजक रहेको निर्वाचन परिचालन समिति गठन गरेको हो । समितिको सचिवमा वडा कमिटी अध्यक्ष युवराज पाठक रहनु भएको छ ।

यसैगरी देवेन्द्र पराजुलीको संयोजकत्वमा युवा, सुजिता गुरागाईंको संयोजकत्वमा महिला, टंक सापकोटाको अध्यक्षमा ज्येष्ठ र खोमनाथ निरौलाको संयोजकत्वमा बुद्धिजिवी परिचालन समिति समिति गठन गरिएको पार्टीका जिल्ला कमिटी सदस्य तथा वडा ईन्चार्ज दिपक खड्काले जानकारी दिनुभयो । पालिका भरी नै टोल तथा वडा समितिहरु गठन भइरहेको गाउँकमिटी अध्यक्ष हरी ढकालले बताए ।

खयरबारीमा आयोजित बिस्तारित वडा भेला कार्यक्रममा प्रमुख अतिथी प्रदेश कमिटी सदस्य बेनुप्रसाद शिवाकोटी, मणि भण्डारी, जिल्ला उपाध्यक्ष शिव ढुंगेल लगायतका वक्ताले आगामी निर्वाचनले राष्ट्रियता पक्षधर र राष्ट्रविरोधीको कित्ता छिनोफानो गर्ने बताए । यो क्षेत्रबाट विगतदेखि नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन जित्दै आएका छन् । फागुन २१ को निर्वाचनमा पनि एमालेको जीत सहज रहेको यहाँका मतदाताले बताएका छन् ।

यसपटक रास्वपाका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह

माधव नेपालको उपचार जारी, छातीमा संक्रमण

काठमाडौं । रुघा, खोकी र ज्वरोको संक्रमणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।

अस्पतालको छाती रोग विभागमा भर्ना भएका नेपालको उपचार जारी रहेको उनको सचिवालयले जनाएको छ ।

केही दिनदेखि रुघा खोकीको संक्रमण भए पनि उनी चुनावी अभियानमा थिए । ज्वरोसमेत थपिएपछि उनी अस्पताल पुगेका हुन् ।

उनको छातीमा संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनी रौतहट–१ मा नेकपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

रामेछापका ‘गणेशमान’ भन्दै रामचन्द्र खड्कालाई जिताउन विश्वप्रकाशको अपिल (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले रामेछापमा कांग्रेसले चुनाव जित्ने दाबी गरेका छन् ।

उनले उम्मेदवार रामचन्द्र खड्कालाई ‘रामेछापका गणेशमान’ भन्दै प्रशंसा मात्रै गरेनन्, खड्काले चुनाव जित्ने ठोकुवा नै गरे । खड्का बेदागी नेता भएको भन्दै आफूसहित सभापति गगन थापासम्मले उनीप्रति श्रद्धा गर्ने बताए ।

नीप्रति रामेछापका कांग्रेसी नेता कार्यकर्ताहरूले कुनै गुनासो नगर्न पनि शर्माले आग्रह गरे ।

‘हामी कसैले जितौँला आफ्नो ठाउँमा छ । जित्ने– हार्ने चलिरहन्छ । रामेछाप त हामी जित्दैछौँ,’ उनले भने, ‘गणेशमान भन्न मिल्ने व्यक्तित्व त्यो भूगोलको लागि । जिन्दगी यत्तिको उमेरमा आइपुग्दैगर्दा दाग नलागेको व्यक्तित्व, चाहे गगन थापाले होस् या मैले वा कसैले श्रद्धा गरेर रामचन्द्र दाइ भन्ने व्यक्तित्व, आज रामेछापका साथीहरूले उम्मेदवार पाउँदै गर्दाखेरी अलिकति कहीँ अलमल, मनका कहीँ गुनासो छ, दुःखेसो छ भने सबै तिलाञ्जली दिनुहोस् आज र जिताउनुहोस् ’

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा यसपटक कांग्रेसले नेता रामचन्द्र खड्कालाई उम्मेदवार बनाएको छ ।

उनीसँग प्रतिस्पर्धामा एमालेले नेता माधव ढुंगेल, नेकपाले पूर्वराज्यमन्त्री श्यामकुमार श्रेष्ठ, रास्वपाले डा. कृष्णहरि बुढाथोकी र उज्यालो नेपाल पार्टीले दीपकुमार योञ्जनलाई उम्मेदवार बनाएर उतारेका छन् ।

कुलमान घिसिङ मन्दिर दर्शन र मतदाता–कार्यकर्ता भेटघाटमा (भिडियोसहित)

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङसहितका उम्मेदवारहरू मन्दिर दर्शनमा निस्किएका छन् ।

बिहीबार बिहान उनीहरूले काठमाडौं उपत्यकाका गणेश मन्दिर, तलेजु मन्दिर र कुमारी मन्दिरको दर्शन गरे । त्यसपछि नरदेवी र वसन्तपुरमा मतदाता र कार्यकर्ताहरूसँग भेटघाट गरे ।

घिसिङ उनेपाबाट काठमाडौं–३ मा उम्मेदवार छन् । उनी नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक छँदा देशमा १८ घण्टा लामो लोडसेडिङ अन्त्य भएको थियो ।

उनै घिसिङलाई नेपालमा लोडसेडिङ अन्त्यको जस जाने गरेको छ । गत वैशाख–जेठतिर उनले उज्यालो नेपाल अभियान सञ्चालन गरेका थिए ।

त्यसपछि उनी जेन–जी विद्रोहपछि गठित सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा तीन महिना बढी ऊर्जा, भौतिक र सहरी विकासमन्त्री भए ।

निर्वाचन लड्ने सुर गरेपछि उनलाई प्रधानमन्त्री कार्कीले राजीनामा दिएर अलग हुन निर्देशन दिएकी थिइन् । निर्देशनअनुसार राजीनामा दिएका उनी उनेपाको अध्यक्ष हुँदै यतिबेला काठमाडौं–३ मा उम्मेदवार छन् ।

देशव्यापी चुनावी माहोल सिर्जना गर्न नसकेका उनले बिहीबार भने मन्दिर दर्शन र मतदातासँगै कार्यकर्तासँग भेटघाट गरेका हुन् ।

 

 

रेशमलाल चौधरीको उम्मेदवारी खारेज विवादमा सुनुवाई गर्दै सर्वोच्च

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट कैलाली–१ मा उम्मेदवार दिएका रेशमलाल चौधरीको उम्मेदवारी खारेजसम्बन्धी विवादमा सर्वोच्च अदालतले आज सुनुवाइ गर्दै छ ।

न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा रिटको सुनुवाइ हुँदैछ । यसअघि ढकालको एकल इजलासले निर्वाचन आयोगलाई लिखित जवाफ पेस गर्न आदेश दिँदै अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्षलाई बिहीबार बोलाएको हो ।

चौधरीको उम्मेदवारी निर्वाचन आयोगले अघिल्लो साता खारेज गरिदिएको थियो । उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय बदरको माग गर्दै रेशम सर्वोच्च पुगेका थिए ।

उनी ७ भदौ २०७२ मा भएको टीकापुर घटनामा तीन तहकै अदालतबाट दोषी ठहर भएका थिए । तर, तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला उनको कैद माफी छुट दिने निर्णय भएको थियो ।

कैद माफी छुटको सिफारिस प्रचण्ड सरकारले राष्ट्रपति रामचन्द्र पौडेलकहाँ पठाएको थियो । उक्त सिफारिसअनुसार राष्ट्रपति पौडेलले कैद माफी छुट दिएका थिए ।

यसपछि रेशमले श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी नेपालको अध्यक्ष हुने प्रयास गरे । पारिवारिक र राजनीतिक दुवै लफडा निम्तियो ।

अन्ततः उनले आफू संरक्षक बनेर फेरि नागरिक उन्मुक्ति पार्टी दर्ता गरे । सोही दलबाट उनी आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनेका थिए । तर, टीकापुर घटनामा सबै तहको अदालतबाट दोषी ठहरिएका उनी उम्मेदवार हुन अयोग्य भन्दै आयोगमा उजुरी पर्‍यो।

उजुरीउपर कारबाही गर्दा आयोगले रेशमलाई उम्मेदवार हुन अक्षम ठहर गर्दै उनको उम्मेदवारी खारेज गर्‍यो ।

लगत्तै उनले आयोगले प्रतिशोध साँधेको कडा प्रतिक्रिया दिएका थिए । उनले निर्वाचन आयोगविरुद्ध कानुनी चुनौती दिने बताएका थिए । नभन्दै सर्वोच्च रिट लिएर पुगे । बिहीबार भने सुनुवाइ हुने भएको हो ।

एक रात हिरासत बसेपछि युवराज सफलको प्रतिक्रिया : बाघलाई धेरै बेर थुन्न सकिन्नँ, चेतना भया

काठमाडौं । साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका युवराज सफलले सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाडेपछि कडा प्रतिक्रिया दिएका छन् । आफूलाई बाघसँग तुलना गर्दै उनले भने, ‘वास्तविक बाघलाई धेरै बेर सुन्न सकिन्नँ, चेतना भया ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेनसहितका आरोपीहरूको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी दुई मुद्दा फिर्ता लिन अभियोगपत्र संशोधन गर्न महान्यायाधिवक्ता सविता भण्डारीले कदम चालेपछि सफलले कडा प्रतिवाद मात्रै गरेनन्, गालीगलौजसमेत गरेका थिए ।

त्यसपछि उनलाई गालीगलौज र भ्रामक प्रचार गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीले मंगलबार पक्राउ गरेको थियो ।

तर, एक रात मात्रै हिरासतमा बसेर सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाडेलगत्तै सफलले आफूलाई बाघको रूपमा चित्रित गर्दै बाघ थुन्ने खोर नै नबनेको भन्दै व्यङ्ग्य गरेका हुन् । उनले रवि र बालेन्द्र शाहप्रति कडा टिप्पणीसमेत गरेका छन् ।

सरकारले रवि लामिछानेसहितका आरोपीहरूको मुद्दा फिर्ता लिन चाहेको छ । तर, त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँगै युवराज सफलले सर्वोच्चमा महान्यायाधिवक्ता कार्यालयले मुद्दा फिर्ता लिन चालेको कदमविरुद्ध रिट दायर गरेका छन् ।

दरबारमार्गको होटल उडल्यान्डमा आगलागी, निभाउने प्रयास जारी

काठमाडौं । काठमाडौँको दरबारमार्गमा रहेको होटल उडल्यान्डमा आगलागी भएको छ ।

बिहीबार बिहान अन्दाजी १० : १५ बजेतिर होटलमा आगलागी भएको र नियन्त्रणको प्रयास भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले बताए ।

आगो निभाउन दमकलसहित प्रहरी टोली सक्रिय छन् । आगलागीको कारण भने खुलिनसकेको एसएसपी थापाले बताए ।

आगलागीबाट भएको क्षतिको विवरण पनि आउन बाँकी छ ।

 

सुनको भाउ एकैदिन बढ्यो २० हजार ५००, नाघ्यो तोलामै तीन लाख ३९ हजार

काठमाडौं । नेपाली बजारमा दिन प्रतिदिन सुन ‘आकाशको फल आँखा तरी मर्’ जस्तै हुँदै गएको छ । दिनहुँ कीर्तिमान राख्दै सुनको भाउ अत्यधिक बढिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामै २० हजार ५०० रुपैयाँले बढेको छ । यो इतिहासकै सर्वोच्च मूल्य हो ।

बढेको मूल्यमा सुन किन्न उपभोक्ताले तोलामै तीन लाख ३९ हजार ३०० रुपैयाँ खर्चिनुपर्ने भएको छ । यसअघि बुधबार प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा सुन किनबेच भएको थियो ।

चाँदीको मूल्यसमेत बढेको छ । बिहीबार तोलामा २०५ रुपैयाँले बढेर सात हजार ५०५ रुपैयाँमा चाँदी किनबेच भइरहेको महासंघले जनाएको छ ।

बुधबार भने प्रतितोला सात हजार ३०० रुपैयाँमा चाँदी किनबेच भएको थियो ।

 

प्रधानन्यायाधीशले समय दिएनन्, कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च गएनन्

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसदहरूले वर्तमान सुशीला कार्की सरकार र प्रतिनिधिसभा विघटनको वैधानिकता परीक्षण आगामी निर्वाचनअघि नै गर्नुपर्ने मागसहित सर्वोच्च अदालत जाने कार्यक्रम स्थगित गरेका छन् ।

सूचना जारी गर्दै कांग्रेसले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको समय नमिलेकै कारण सर्वोच्च जाने कार्यक्रम स्थगित गरेको स्पष्ट पारेको हो ।

विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक रहेका नेता श्यामकुमार घिमिरेले नेपालवान एचडीसँग भने, ‘प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको सचिवालयले फोन गरेर आजका लागि तय भएको भेटघाटको कार्यक्रम तत्कालका लागि स्थगित भएको जानकारी दिएको छ र हामी आज नजाने भयौँ ।’

कांग्रेसले जारी गरेको सूचनामा भने ‘विशेष कारण’ले सर्वोच्च अदालत जाने कार्यक्रम स्थगित गरिएको उल्लेख छ ।

घिमिरे नेतृत्वको टोली बिहीबार बिहान १० : ३० बजे सर्वोच्च अदालत जाने भनिएको थियो । कांग्रेसका ६५ जना पूर्वसांसदले कार्की सरकार गठन र प्रतिनिधिसभा विघटनको वैधानिकता परीक्षण माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटको पेसी यो समाचार तयार पार्दासम्म चढेको छैन । प्रायः संवैधानिक परीक्षण गर्नुपर्ने प्रकृतिका रिटहरूको सुनुवाई त्यसको सान्दर्भिकता सकिएपछि हुने अघोषित परम्परा सर्वोच्च अदालतमा छ ।

त्यसो हुँदा कांग्रेसका पूर्वसांसदहरू प्रतिनिधिसभा निर्वाचनअघि नै मुद्दाको टुंगो लाग्नुपर्ने र त्यसका लागि दबाब दिन सर्वोच्च जान लागेका हुन् । यद्यपि, न्यायिकवृत्तमा भने सर्वोच्च अदालतलाई दबाबमा राख्ने कांग्रेसको प्रयास सुहाउँदिलो नभएको चर्चा हुन थालेको छ ।

२३ र २४ भदौको जेन–जी विद्रोहपछि २७ भदौमा नागरिक सरकारका प्रधानमन्त्रीको रूपमा पूर्वप्रधानन्यायाधीशसमेत रहेकी सुशीला कार्कीको नियुक्ति भएको थियो ।

सोही राति उनले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन् । सिफारिसअनुसार राष्ट्रपतिले विघटन गर्दै छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गर्न ‘म्यान्डेट’ दिए ।

म्यान्डेटअनुसार कार्की सरकार निर्वाचन सम्पन्न गर्नतिर उन्मुख छ । तर, कार्की सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध एमाले र कांग्रेसका तत्कालीन सांसदहरू रिट लिएर सर्वोच्च पुगे । तर, रिटको सुनुवाइ हुने छाँट निर्वाचनअघि देखिएको छैन ।

यसबीच कांग्रेसका पूर्वसांसदहरू भने निर्वाचनअघि नै रिटको सुनुवाइ गरेर फैसला आओस् भनेर दबाब दिन सर्वोच्च जान लागेका हुन् ।

 

घोषणापत्र लेखनअघि सुझाव संकलन गर्दै एमाले

काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र लेखनका लागि सुझाव संकलन थालेको छ ।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको घोषणापत्र मस्यौदा समितिले पार्टी संगठन र जनवर्गीय संगठनलगायत निकायबाट सुझाव मागिरहेको प्रचार संयोजक मीनबहादुर शाहीले बताए ।

उनका अनुसार सबै क्षेत्रबाट दुई–तीनपटक सुझाव संकलन गरिसकेको छ । यसपछि घोषणापत्रको मस्यौदा लेखन थालिने छ ।

घोषणापत्र मस्यौदा समितिमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् ।

प्रतिनिधिसभा निर्वाचन भने आगामी २१ फागुनमा हुँदैछ । एमालेले पाँच वर्षभित्र पार्टीले एकल बहुमतीय सरकार बनाएको अवस्थामा देश विकासको मार्गचित्र कस्तो हुने ? घोषणापत्रमा समेट्ने जनाएको छ ।

 

गोली चलाएर लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । गोली चलाएर प्रहरीले काठमाडौंको मुलपानीबाट १० जनालाई पक्राउ गरेको छ । उनीहरू लुटपाटमा संलग्न भएको प्रहरीले जनाएको छ ।

प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाका अनुसार उनीहरू रातिको समयमा विभिन्न व्यक्तिहरूलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाटमा संलग्न हुँदै आएका थिए ।

उनीहरूलाई पक्राउ गर्न परिसरको टोली गएराति परिचालन गरिएको थियो । टोलीले पक्राउ गर्ने क्रममा गोली नै चलाउनु परेको थापाले नेपालवान एचडीलाई बताए ।

विस्तृत विवरण भने पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने बताए ।

हर्क साम्पाङको स्पष्टीकरण– चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको साँचो होइन

काठमाडौं । श्रम संस्कृति पार्टीले बालबालिकालाई चुनावी प्रचारप्रसारमा प्रयोग गरेको भन्ने आरोप असत्य, कपोलकल्पित र दुराशयपूर्ण भएको दाबी गर्दै निर्वाचन आयोगमा औपचारिक स्पष्टीकरण पेश गरेको छ।

पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)को हस्ताक्षरसहित बुधबार निर्वाचन आयोगमा बुझाइएको पत्रमा पार्टीले बालबालिकालाई कुनै पनि अवस्थामा निर्वाचन प्रचारमा प्रयोग नगरेको स्पष्ट पारेको छ।

स्पष्टीकरणमा सामाजिक सञ्जालमा सार्वजनिक भएका केही तस्बिर र भिडियोहरूलाई आधार बनाएर लगाइएको आरोप वास्तविकताभन्दा फरक र भ्रामक रहेको उल्लेख छ। ती सामग्रीहरू घटनाको यथार्थभन्दा ‘नाटकीय प्रस्तुति’ मात्र हुन सक्ने भन्दै पार्टीले यस्ता सामग्रीले जनमतलाई गलत दिशामा लैजान सक्ने चेतावनी दिएको छ।

पत्रमा अध्यक्ष राईले आफूले ‘श्रमदानको नयाँ आर्थिक मोडेल’ प्रवर्द्धन गर्ने क्रममा खिचिएका आफ्ना तस्बिर प्रयोग गरी टी-शर्ट छापिएको स्वीकार गरेका छन्। तर, ती टी-शर्ट बालबालिकालाई चुनावी प्रचारका लागि नदिइएको र नलगाउन निर्देशन दिइएको दाबी गरिएको छ।

कतिपय अवस्थामा श्रमदानमा सहभागी अभिभावकहरूले आफ्ना बालबालिकालाई साथमा ल्याउँदा उनीहरूले टी-शर्ट लगाएको हुनसक्ने उल्लेख गर्दै त्यसलाई चुनावी प्रचारसँग जोड्नु गलत भएको भनिएको छ।

स्पष्टीकरणमा भनिएको छ, “मेरो फोटो छापिएको टी–शर्ट लगाएका बालबालिकाहरू देखिएको भए पनि उनीहरूलाई कुनै प्रकारको राजनीतिक गतिविधि, प्रचार, नारा, झण्डा वा अन्य कार्यमा संलग्न गराइएको छैन।”

पार्टीले आफूलाई बालबालिकाको राजनीतिक प्रयोगसम्बन्धी कुनै पनि उजुरीबारे पूर्व जानकारी नभएको र यस्ता आरोपले व्यक्तिगत तथा पार्टीको छविमा क्षति पुर्‍याउने उद्देश्य राखेको आरोप लगाएको छ।

विगतमा समेत सामाजिक सञ्जालमार्फत भ्रामक भिडियो भाइरल गराएर चरित्रहत्या गर्ने प्रयास भएको उदाहरण दिँदै पार्टीले अहिलेको उजुरी पनि त्यही प्रकृतिको भएको दाबी गरेको छ।

श्रम संस्कृति पार्टीले निर्वाचन आयोगसँग आफू वा पार्टीविरुद्ध कारबाही आवश्यक नपर्ने निष्कर्षमा पुग्न आग्रह गरेको छ। यदि कसैले बालबालिकालाई जबर्जस्ती प्रचारमा लगाएको, निर्देशन दिएको वा प्रलोभन दिएको ठोस प्रमाण पेश गर्न सके कारबाही स्वीकार्य हुने पनि पत्रमा उल्लेख गरिएको छ।

दुर्गन्धले खुल्यो एक महिनाअघिको हत्या घटनाको रहस्य, घटनाको कारण प्रेममा शंका

काठमाडौं । बाँकेको डडुवा गाउँपालिका–३ बनकट्टी । गाउँ शान्त थियो । बिहानको घामले आँगन तताइरहेका बेला अचानक दुर्गन्ध फैलिन थाल्यो । गाउँलेको ध्यान राम फेरन कुर्मीको घर पछाडिको वर्षौंदेखि प्रयोगविहीन इनारतर्फ गयो ।

इनारभित्र झुकेर हेर्दा देखिएको दृश्यले सबै स्तब्ध भए, जहाँ सडिसकेको अवस्थामा एक युवतीको शव ।
यही १ माघको त्यो बिहान करिब १०ः३० बजेतिर शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरी टोलीले घटनास्थल पुगेर इनारबाट शव निकाले ।

शरीर यति सडिसकेको थियो कि तत्काल पहिचान असम्भवजस्तै देखिन्थ्यो । तर, कपडा र गहनाले बिस्तारै पहिचान खुल्दै गयो, मृतक थिइन्– सोही गाउँकी २१ वर्षीया बसन्ती गोडिया ।

उनी करिब एक महिनाअघि ‘मामा घर जान्छु’ भन्दै घरबाट हिँडेकी थिइन् । मामाघर भारतको नानापारा हो । उनको परिवारले बसन्ती मामा घर पुगेकी होला भन्ने ठानेको थियो । दिन बित्दै गए तर मामाघर पुगेको कुनै खबर आएन । अनि, परिवार झस्कियो र खोजी थाले तर कतै पत्तो लागेन ।

अन्ततः बसन्तीको शव सढेगलेको अवस्थामा फेला पर्‍यो । भेरी अस्पतालमा शवको पोस्टमार्टमपछि सार्वजनिक तथ्यअनुसार बसन्तीको मृत्यु ‘इन्ज्युरी टू नेक एण्ड हेड’ अर्थात् टाउको र घाँटीमा गहिरा चोटका कारणले भएको थियो ।

यही घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले अर्को तथ्य फेला पार्‍यो । त्यो हो– प्रेम सम्बन्ध । बाराका प्रहरी प्रमुख एसपी अंगुर जिसीका अनुसार उनी करिब एक वर्षदेखि छिमेकी राकेश बर्मासँग प्रेममा रहेको अनुसन्धानका क्रममा खुल्यो । राकेशलाई अनुसन्धानको दायरामा ल्याउँदा थप तथ्य खुल्यो– घटना गराउने राकेश नै हुन् ।

एसपी जिसीले नेपालवान एचडीसँग भने, ‘बसन्ती भारतस्थित मामा घर नगएको पुष्टि भएपछि उनका कोही प्रेमी थिए कि थिएनन् भन्ने खोज्यौँ, त्यस क्रममा राकेश उनको प्रेमी भन्ने थाहा पायौँ र अनुसन्धान गर्दै जाँदा प्रेममा शंका लागेपछि घटना गराएको स्वीकारे ।’

उनका अनुसार हत्या भएको रात राकेशले बसन्तीलाई करिब ११ बजे फोन गरेका थिए । उनले ‘सल्लाह गर्नुपर्छ’ भन्दै बोलाएका थिए । विश्वास गरेर बसन्ती नजिकैको लाहारी बारीसम्म गइन् ।

त्यहीँ उनीहरूबीच विवाद चर्कियो । राकेशलाई बसन्तीको अन्य युवकसँग पनि सम्बन्ध रहेको शंका लागेको थियो । त्यही शंकाले विवाद हुँदा राकेशले टाउकामा प्रहार गरे । बसन्ती ढलिन्, सधैंका लागि ।

हत्यापछि राकेशले कुर्मीको वर्षौँदेखि प्रयोगविहीन इनारामा फाले । त्यो उनको अपराध लुकाउने प्रयत्न थियो । तर, एक महिनापछि दुर्गन्धले घटना पत्ता लाग्यो र राकेश कानुनी दायरामा आउनुपर्‍यो । उनीविरुद्ध प्रहरीले कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान थालेको छ ।

घोषणापत्रमै सुरक्षित मातृत्व र गर्भपतन सेवा समेट्न दलहरूलाई आग्रह

काठमाडौँ । आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले तयार पार्ने चुनावी घोषणापत्रमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई प्राथमिकताका साथ समेट्न माग गरिएको छ।

महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) तथा सेन्टर फर रिप्रोडक्टिभ राइट्स (सिआरआर) ले संयुक्त रूपमा प्रमुख राजनीतिक दलहरूलाई वकालत पत्र बुझाउँदै प्रजनन स्वास्थ्य सेवासम्बन्धी स्पष्ट प्रतिबद्धता जनाउन आग्रह गरेका हुन्।

एफडब्लुएलडी र सिआरआरका प्रतिनिधिहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत प्रमुख दलका केन्द्रीय कार्यालयमा पुगेर दलका शीर्ष नेतृत्वलाई वकालत पत्र हस्तान्तरण गरेका थिए।

वकालत पत्रमार्फत महिला, किशोरी तथा समग्र नागरिकको यौन तथा प्रजनन स्वास्थ्य अधिकार संविधानअनुसार व्यवहारमा सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ।

घोषणापत्रमा समावेश हुनुपर्ने विषयहरूबारे वकालत पत्रमा विस्तृत रूपमा उल्लेख गरिएको छ। यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कानुनी व्यवस्थामा अझै सुधार आवश्यक रहेको उल्लेख गर्दै विशेषगरी गर्भपतनसँग सम्बन्धित विद्यमान कानुनमा समयानुकूल परिमार्जन र सुधार गर्ने प्रतिबद्धता घोषणापत्रमै स्पष्ट रूपमा उल्लेख गर्न दलहरूसँग माग गरिएको छ। यसले सुरक्षित र कानुनी गर्भपतन सेवामा महिलाको पहुँच सहज बनाउने विश्वास लिइएको छ।

त्यसैगरी, परिवार नियोजन, सुरक्षित गर्भपतनलगायत सम्पूर्ण प्रजनन स्वास्थ्य सेवाहरूलाई सुनिश्चित, पहुँचयोग्य, सर्वसुलभ र गुणस्तरीय बनाउने नीति घोषणापत्रमा समावेश गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। सेवा शहर–केन्द्रित नभई ग्रामीण तथा दुर्गम क्षेत्रसम्म विस्तार हुनुपर्नेमा जोड दिइएको छ।

वकालत पत्रमा किशोर–किशोरीहरूको अवस्था विशेष रूपमा उल्लेख गरिएको छ। उनीहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न बृहत यौनिकता शिक्षाको प्रभावकारी कार्यान्वयन अनिवार्य भएको भन्दै विद्यालय तथा समुदाय तहसम्म यसको पहुँच विस्तार गर्न राजनीतिक दलहरू प्रतिबद्ध हुनुपर्ने माग गरिएको छ।

त्यसैगरी, प्रसूति सेवा र सुरक्षित मातृत्व सेवा स्थानीय तहसम्म सर्वसुलभ र गुणस्तरीय बनाउने विषयलाई पनि घोषणापत्रमा प्राथमिकताका साथ राख्न आग्रह गरिएको छ। सुरक्षित मातृत्व सेवा विस्तारले मातृ मृत्युदर घटाउन र महिला स्वास्थ्यमा दीर्घकालीन सुधार ल्याउन सहयोग पुग्ने उल्लेख गरिएको छ।

एफडब्लुएलडी र सिआरआरले राजनीतिक दलहरूले चुनावी घोषणापत्रमै यस्ता प्रतिबद्धता समेटेमा मात्र निर्वाचनपछि नीतिगत तथा कार्यान्वयन तहमा ठोस प्रगति सम्भव हुने विश्वास व्यक्त गरेका छन्। यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित हुनु महिला अधिकार, लैंगिक समानता र समग्र सामाजिक विकासको महत्वपूर्ण आधार भएको उनीहरूको निष्कर्ष छ।

ओखलढुंगामा वृद्धवृद्धाको एकैशैलीमा हत्या शृङ्खला

काठमाडौं । ओखलढुंगामा रात शान्त हुँदैन । यहाँ रात पर्दासँगै ढोका थुन्ने बानी मात्र होइन, डर पनि पलाउँछ । किनकि केही महिनायता वृद्ध दम्पती र एकल महिलालाई निशाना बनाउँदै आएको शृंखलाबद्ध हत्या अझै पूर्णरूपमा थामिएको छैन ।

मंगलबार राति जिल्लाको चिशंखुगढी गाउँपालिका–६ मा ८० वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राई आफ्नै घरभित्र मृत भेटिए ।

शव हेर्दा स्वाभाविक मृत्यु भएको नपाइएको ओखलढुंगाका प्रहरी प्रवक्ता विक्रमबहादुर भट्टराईले बताए । उनले नेपालवान एचडीसँग भने, ‘हामी अहिले शव प्रकृति मुचुल्का तयार गर्दैछौँ र घटनाको अनुसन्धान पनि गर्दैछौँ ।’

उनका अनुसार घरको बाकस फुटाएको फेला परेको छ । त्यस आधारमा प्रहरीले घटना लुटपाटका लागि भएको हुन सक्ने जनाएको छ । यस्तै प्रकृतिको घटना एक महिनाअघि भएको थियो ।

गत पुस १५ मा चिशंखुगढी–६ कै भदौरे गैरीगाउँमा किराना पसल चलाउँदै आएका शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया मगरको कोदालो प्रहार गरेर हत्या भएको थियो । त्यसबेला नगद र सुन लुटिएको थियो । शव गोठमा लगेर स्याउलाले छोपिएको भेटिएको थियो ।

त्यसअघि २६ असोजमा सिद्धिचरण नगरपालिका–४ चार्खुमा एकल महिला रत्नकुमारी कटवालको बन्चरो प्रहार गरी हत्या भयो । यी तीनवटै घटनामा निसाना परेको एकान्तमा बस्ने, उमेरले कमजोर र सुरक्षा विहीन नागरिक हुन् ।

बालेन शाह हेर्न दार्चुलामा थामिनसक्नु भिड (तस्वीरहरु)

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिम दौडाहाका क्रममा छन् । उनी आज डडेलधुरा, बैतडी र दार्चुला पुगेका छन् । उनले रास्वपा डडेलधुराका उम्मेदवार डा. तारा जोशी, बैतडीका उम्मेदवार हरिमोहन भण्डारी र दार्चुलाका उम्मेदवार राजेशसिंह सामन्तसँग भेट गरेका छन् । दार्चुलामा उनी पुग्दा थामिनसक्नु भिड लागेको छ । उनी गोकुलेश्वर पुग्दा सर्वसाधारणको घुइँचो लागेको थियो ।

वरपरका गाउँबाट उनलाई हेर्न सर्वसाधारण गोकुलेश्वर पुगेका थिए । उनी तीन दिनअघि काठमाडौँबाट पश्चिम तराईतिर लागेका थिए । बर्दियामा चुनावी भेटघाटपछि सुदूरुपश्चिम गएका थिए । मंगलबार कैलाली र कञ्चनपुरका चुनावी कार्यक्रममा व्यस्त रहेका थिए । आज बिहानै कैलालीबाट डडेल्धुरा, बैतडी हुँदै दार्चुला पुगेका हुन् ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

संघीयता खारेजीसहित जनमोर्चाको २५ बुँदे घोषणापत्र सार्वजनिक

काठमाडौं । राष्ट्रिय जनमोर्चाले ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि २५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । संघीयता खारेजी, राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको संरक्षणलाई प्रमुख एजेण्डा बनाउँदै घोषणापत्र सार्वजनिक गर्ने पहिलो राजनीतिक पार्टीका रूपमा जनमोर्चा अगाडि आएको छ ।

बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टी अध्यक्ष चित्रबहादुर केसीले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा मुलुकलाई बलियो बनाउने उद्देश्यसहित विकेन्द्रित र सन्तुलित विकास नीति, क्षेत्रीय असमानता अन्त्य, तथा विकास दृष्टिले पछाडि परेका जिल्ला र दुर्गम क्षेत्रलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

अहिले विकासका कार्यक्रमहरू मुख्यतः ठूला शहर र केही विकसित क्षेत्रमा केन्द्रित रहेको उल्लेख गर्दै जनमोर्चाले अब क्षेत्रीय सन्तुलन कायम गर्दै सबै भूगोलमा समान विकास हुनुपर्ने धारणा अघि सारेको छ । घोषणापत्रमा दुर्गम जिल्लाको पूर्वाधार विकास, पहाडबाट हुने बसाइँसराइ न्यूनीकरण, दुर्गम गाउँमा सुपथ मूल्य पसल सञ्चालन, एकीकृत नमूना बस्ती निर्माणलगायतका कार्यक्रम समेटिएका छन् ।

त्यस्तै प्रवासी नेपालीलाई मताधिकार, विदेशी ऋणको दुष्चक्रबाट मुलुकलाई मुक्त गर्ने नीति, अन्तर निर्वाचन क्षेत्रबाट मताधिकारको व्यवस्था, द्वन्द्वपीडितलाई न्याय र राहत, बौद्धिक पलायन रोक्ने कार्यक्रम, खाद्य सुरक्षा सुनिश्चितता, कारागार सुधार, ग्रामीण विकास, मानव अधिकारको पूर्ण पालना, जेष्ठ नागरिकको स्वास्थ्यको सम्पूर्ण जिम्मेवारी राज्यले लिने नीति घोषणापत्रमा उल्लेख गरिएको छ ।

घोषणापत्रमा मजदुरको हकहित संरक्षण, रोजगारीको सुनिश्चितता, खेलकुद, शिक्षा र सामाजिक सुरक्षासम्बन्धी नीतिहरूलाई पनि प्राथमिकताका साथ समावेश गरिएको छ । घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केसीले संघीय संरचनाका कारण देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि गम्भीर संकट पैदा भएको दाबी गरे । ‘देशलाई विखण्डन र क्षेत्रीय विग्रहतिर धकेल्ने प्रयास भइरहेको छ’, उनले भने, ‘जातिवादलाई उचालेर मुलुकलाई अस्थिर बनाउने गतिविधिप्रति देशभक्त नेपाली सचेत हुन आवश्यक छ ।’

केसीले विगतमा भएका राजनीतिक दलका गल्तीका कारण भदौ २३ र २४ गतेजस्ता घटना घटेको उल्लेख गर्दै अब जनतामाझ क्षमा मागेर राष्ट्रिय संकट टार्न सबै एकजुट हुनुपर्ने बताए । उनले अघिल्लो सरकार र संसद विघटनप्रति पनि असन्तुष्टि जनाउँदै एनजीओ–आईएनजीओको प्रभावमा सरकार गठन र चुनाव गराउने प्रयास भएको आरोप लगाए । आसन्न निर्वाचनमा जनमोर्चाले अन्य दलसँग चुनावी एकताको नीति नलिएको स्पष्ट पार्दै अध्यक्ष केसीले केही अपवादबाहेक पार्टी एक्लै चुनावी मैदानमा उत्रिने बताए ।

पार्टीले २१ फागुनमा हुने निर्वाचनका लागि ४२ जिल्लाका ७० निर्वाचन क्षेत्रमा प्रत्यक्ष उम्मेदवार उठाएको छ भने समानुपातिकतर्फ ११० जना उम्मेदवार रहेका छन् । कार्यक्रममा पार्टी उपाध्यक्ष दुर्गा पौडेलले पछिल्लो समय चुनावमा ‘नयाँ र पुरानो’ भन्ने भाष्य सिर्जना गरिएको उल्लेख गर्दै काम गर्ने क्षमता र जनताप्रतिको प्रतिबद्धतालाई आधार मानेर मूल्यांकन गर्नुपर्ने धारणा व्यक्त गरिन् । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजी, राष्ट्रियता रक्षा र सन्तुलित विकासलाई केन्द्रमा राख्दै आगामी निर्वाचनमा जनतासँग मत माग्ने स्पष्ट रणनीति सार्वजनिक गरेको छ ।

यसरी जिल्ला–जिल्ला पठाइँदैछ फोटोसहितको नामावली {तस्वीरहरु}

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यतिबेला निर्वाचन आयोगमा कर्मचारीहरूलाई भ्याइ नभ्याई छ । अहिले आयोगमा फोटोसहितको नामावली जिल्लाजिल्ला पठाउने कार्य भइरहेको छ । पहिलो चरणमा यो काम सकिएपछि मतदाता नामावली पनि जिल्ला पठाउने कार्य सुरु हुने आयोगले जनाएको छ । प्रतिनिधि सभा निर्वाचन आउन ३६ दिन मात्रै बाँकी छ ।

निर्वाचनका लागि आवश्यक तयारीका लागि निर्वाचन आयोगले धमाधम काम गरिरहेको छ । आयोगले मतपत्र छपाई कार्यलाई पनि तीव्रता दिएको छ । छपाइसम्बन्धी काम आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट गराउँछ । समानुपातिक तर्फको मतपत्र छाप्ने काम सम्पन्न भइसकेको छ। अब प्रत्यक्षतर्फको सुरू भएको छ ।

यसबीच आयोगले फोटो सहितका मतदाता नामावली जिल्ला–जिल्लामा पठाउने तयारी गरेको छ । बुधबार आयोगका कर्मचारीहरू फोटोसहितका नामावली प्याकिङ गर्न व्यस्त थिए । मतादाता नामावलीपत्र मतदान केन्द्र अनुसार मिलाउनेदेखि ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ । आयोगले जिल्ला–जिल्लामा पठाएको नामावलीपत्र त्यहाँबाट मतदान केन्द्रहरूमा पठाइन्छ । उक्त नामावलीमा उल्लेखित व्यक्तिहरूले मतदान गर्न पाउने छन् ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

कमान्डोले छातिमै ताकेर हान्छ, घुँडामा हान्दैन : नेकपा सांसद अधिकारी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्णप्रसाद अधिकारीले जेन–जी आन्दोलनमा हुनसक्ने घुसपैठबारे सरकार बेखबर भएकै कारण स्थिति नियन्त्रणमा कमान्डोलाई प्रयोग गर्नुपर्ने अवस्थामा पुगेको बताएका छन् ।

त्यही भएर आन्दोलनको पहिलो दिन ठूलो संख्यामा हताहती भएको बताए ।

‘कमान्डोले ताकेर घुँडामुनि हान्दैन, कमान्डोले चाहिँ छातिमै ताकेर गोली हान्ने हो,’ उनले बुधबार राष्ट्रियसभा बैठकमा भने, ‘त्यो घटना हामीले त्यो दिन (२३ भदौमा) देख्यौँ संसद् भवन भित्रबाट ।’

भोलिपल्ट २४ भदौमा देशलाई अस्थिरता र अराजकतामा लाने र असफल बनाउँदै आफ्नो स्वार्थसिद्ध गर्न चाहने तत्वहरूले घुसपैठबाट पूर्ण असफल बनाउने कार्य गरेको दाबी गरे ।

उनले घुसपैठ गरेर देशलाई नै खरानी बनाएको भन्दै आक्रोश पोखे ।

बारामा आमा–छोरा हत्या प्रकरण : बुहारी पक्राउ, दुबईबाट फर्केका युवकको देखियो संलग्नता

बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा एकै परिवारका आमा र छोराको निर्मम हत्या भएको घटनाले सिंगो गाउँ स्तब्ध बनेको छ । बुधबार राति धारिलो हतियार प्रयोग गरी ५२ वर्षीया सुमित्रादेवी मण्डल र उनका छोरा रामेश्वर मण्डलको हत्या गरिएको हो । घटनामा मृतकका श्रीमान्, छोरी र बुहारी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार बिहान करिब २ बजेतिर अज्ञात व्यक्तिले घरभित्र प्रवेश गरी अन्धाधुन्ध धारिलो हतियार प्रहार गरेका थिए । सुमित्रादेवीको शव घर बाहिर शौचालय नजिक फेला परेको थियो भने रामेश्वर मण्डलको शव घरको प्यासेजमा भेटिएको प्रहरीले जनाएको छ । घटनाका क्रममा मृतक सुमित्राका श्रीमान जगरुप मण्डल, छोरी रिना कुमारी मण्डल र बुहारी मनिता देवी घाइते भएका छन् । उनीहरूको परवानीपुरस्थित एलएसआर न्युरो अस्पतालमा उपचार भइरहेको छ । जगरुप मण्डलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धानका क्रममा मृतक रामेश्वरकी श्रीमती मनिता देवीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले प्रारम्भिक अनुसन्धानका आधारमा बुहारीको संलग्नता शंकास्पद देखिएको बताएका छन् । त्यस्तै यस घटनामा संलग्न भएको आरोपमा अर्का एक युवक पनि पक्राउ परेका छन् । ती युवक केही दिनअघि मात्रै दुबईबाट नेपाल फर्किएको खुलेको छ । प्रहरी स्रोतका अनुसार उनी २६ जनवरीमा दुबईको सारजाहबाट काठमाडौं ओर्लिएपछि सिधै बारा पुगेका थिए ।

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार बुहारी मनिता देवी र ती युवकबीच विवाह बाहिरको सम्बन्ध रहेको आशंका गरिएको छ । उक्त सम्बन्धबारे परिवारमा थाहा पाएपछि घरभित्र तनाव र विवाद बढेको र त्यसकै परिणामस्वरूप योजनाबद्ध रूपमा हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ । यद्यपि, यो विषय थप अनुसन्धानपछि मात्रै पुष्टि हुने प्रहरीले जनाएको छ । घटनाको जानकारी एक बालकले छिमेकीलाई दिएपछि गाउँलेहरू घटनास्थलमा पुगेका थिए । त्यसलगत्तै प्रहरीलाई खबर गरिएको थियो ।

सूचना पाउना साथ एसपी कुँवर स्वयं घटनास्थल पुगेका थिए । प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको छ भने तालिमप्राप्त कुकुर समेत परिचालन गरी अनुसन्धानलाई तीव्र बनाइएको छ । प्रहरीले हाल पक्राउ परेका दुवै जनामाथि गहिरो सोधपुछ गरिरहेको छ । घटनामा प्रयोग भएको हतियार, घटनाको वास्तविक योजना र अन्य सम्भावित संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाइएको छ । बारामा भएको यो हृदयविदारक घटनाले पारिवारिक सम्बन्ध, विश्वास र सामाजिक संरचनामाथि गम्भीर प्रश्न उठाएको छ । अनुसन्धानको अन्तिम नतिजा आउन बाँकी रहे पनि प्रहरीले सत्य बाहिर ल्याउने प्रतिबद्धता जनाएको छ ।

 

मधेश कांग्रेसको जन्मभूमि हो, जेठो छोरा भएर सेवा गर्न म झरें : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशप्रति विगतमा भएका कमजोरी र चुक सुधार्ने दृढ संकल्पसहित आफू मधेशमा आएको बताएका छन् । सर्लाही–४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेश कांग्रेसको जन्मभूमि मात्रै नभई पार्टीलाई हुर्काउने, सम्हाल्ने र टिकाउने मुख्य शक्ति भएको स्पष्ट पारे ।

सभापति थापाले मधेशले सधैँ कांग्रेसलाई न्याय गरेको तर कांग्रेसले मधेशप्रति गर्नुपर्ने सबै जिम्मेवारी समयमै पूरा गर्न नसकेको स्वीकार गरे । मधेशको सम्मान, प्रतिनिधित्व र अधिकारका सवालमा देखिएको यही खालीपनका कारण पछिल्ला वर्षहरूमा थुप्रै नयाँ तथा मधेश केन्द्रित राजनीतिक दलहरू उदाएको उनको भनाइ थियो । ‘म कसैलाई दोष लगाउन चाहन्नँ’, उनले भने, ‘तर मधेश हाम्रो जननी हो, हाम्रो आमा हो । हामी यसको जेठो छोरा हौं । आमाको सेवा गर्नु, हक–अधिकार सुनिश्चित गर्नु हाम्रो कर्तव्य हो । कतिपय सन्दर्भमा हामीले उठाउनुपर्ने जिम्मेवारी समयमा नउठाएको चुक भएको छ ।’

त्यही गल्ती सुधार्ने प्रतिबद्धतासहित नेपाली कांग्रेसले आफ्नो सभापतिलाई नै ‘मधेशको उम्मेदवार’ का रूपमा अघि सारेको उनले बताए । ‘सिङ्गो मधेशमा हामी यो सन्देश लिएर आएका छौं कि मधेशको जिम्मा कांग्रेसले लिन्छ, मधेशका माग कांग्रेसले पूरा गर्छ’, थापाले भने । आफ्नो सम्बोधनमा सभापति थापाले आगामी पाँच वर्षलाई देशका लागि निर्णायक समयको रूपमा चित्रण गरे ।

उनले यो समय आर्थिक प्रगति, कृषकको जीवनस्तर सुधार, बेरोजगार युवालाई रोजगारी, तथा शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था बदल्ने अवसर भएको उल्लेख गरे । ‘यो समय नेपालले खेर फाल्न सक्दैन’, उनले जोड दिए । कांग्रेसले यही पाँच वर्षको सदुपयोग गर्ने विश्वास व्यक्त गर्दै उनले पार्टीलाई सबैभन्दा ठूलो शक्ति मधेशबाटै चाहिएको बताए । ‘किनभने मधेश नै कांग्रेसको जन्मभूमि हो। कांग्रेसलाई बनाउने, हुर्काउने, बलियो बनाउने र टिकाइराख्ने यही धर्ती हो’, उनले भने ।

सभापति थापाले आफू सर्लाहीको एउटा निर्वाचन क्षेत्रबाट मात्र नभई सिङ्गो सर्लाही र मधेशका ३२ वटै निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवारलाई जिताउने जिम्मेवारी लिएर मधेश झरेको बताए । मधेशवासीको साथ र समर्थन लिएर कांग्रेसले आगामी पाँच वर्ष देश र मधेश दुवैको सेवा गर्ने ऐतिहासिक कर्तव्य पूरा गर्ने उनको दाबी थियो । उनले कार्यकर्तालाई कांग्रेसको यो सन्देश घर–घरमा पुर्‍याउन आग्रह गरे । ‘मधेशको सेवा गर्ने संकल्पसहित हामी यहाँ आएका छौं’, उनले भने, ‘अब यो भरोसा जनतासम्म पुर्‍याउने जिम्मेवारी तपाईंहरुकै हो ।’

 

प्रतिकूल मौसमले एयर इण्डिया वनारस ‘डाइभर्ट’

काठमाडौं । काठमाडौंमा खराब मौसमका कारण आन्तरिकसँगै अन्तर्राष्ट्रिय उडान समेत प्रभावित भएका छन् । बाक्लो हुस्सुले बुधबार बिहानैदेखि अधिकांश विमानस्थलको भिजिविलिटी कम हुँदा उडान अवतरणमा समस्या भएको हुन पुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) ले जनाएको छ ।

विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडानतर्फ एयर इण्डिया बनारस ड्राइभर्ट भएको छ भने एयर चाइना आकाशमै होल्ड भएको छ । यस्तै, एयर इण्डियाका दुईटा र थाई एयरको एउटा उडान डिले भएको छ । यस्तै आन्तरिक उडानतर्फ तराई क्षेत्रमा उडानका लागि तयारी अवस्थामा रहेका जहाजहरू खराब मौसमका कारण डिले भएको कार्यालयले जानकारी दिएको छ । भरतपुर र ताम्लिङटारका उडान डिले भएका छन् ।

बालेनलक्षित कांग्रेस सांसद भट्टको टिप्पणी : देश जलाउनेहरुबाट कुनै अपेक्षा गर्न सकिँदैन

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद नारायणदत्त भट्टले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति आक्रोश व्यक्त गरेका छन् । बुधवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले साहले भदौ २४ गते देशलाई खरानी बनाउने कामको नेतृत्व साहले गरेको आरोप लगाउँदै त्यस्ता व्यक्तिले प्रधानमन्त्री भएर मुलुकको मुहार फर्छ भन्ने कुनै ग्यारेन्टी नभएको बताए ।

सांसद भट्टले साहले काठमाडौं महानगरपालिकाको जिम्मेवारी पूरा नगरेकोमा पनि आपत्ति जनाए । एउटा जिम्मेवारी पूरा नहुँदै अर्को जिम्मेवारी जाने, पत्रकारको नाममा मन्त्री बन्ने अनि सांसद बन्ने खोज्नेहरुले संविधान बनाउने, देश र जनताका लागि रगत, पसिना बगाउने नेताहरुलाई पुराना भनेर अर्ति उपदेश दिने काम कुनै पनि हालत जायज नभएको उनले जिकिर गरे ।

सांसद भट्टले भने, ‘देशलाई खरानी बनाउनेहरुले देशको मुहार फेर्छ भन्ने के ग्यारेन्टी छ ? आफ्नो एउटा जिम्मेवारी छोडेर अर्को जिम्मेवारीमा जाने । आफू एउटा मिडिया हाउसको सबभन्दा ठूलो पत्रकार भनेर उभ्याएर मन्त्री खाने अनि माननीय हुन जाने बाँकी तपाई हामी जस्ता विचारले बाँधिएका, विचारले जनताका लागि, देशका लागि रातदिन खटिने मानिसहरु बदनाम हुँदै जाने ।’

उनले भने, ‘पुरानाका नाममा म उहाँहरुलाई भन्न चाहन्छु–बुबाआमा पनि पुराना भए होलान । बुबाले कमाएको सम्पति पनि पुरानो भयो होला । त्यो सम्पत्ति पुरानो भयो होला । त्यो सबे फाल्नुस । र, आफूले कमाएर आफै आफ्नो खुट्टामा उभिएर देखाउनुस । अर्कोले बनाएको संविधान, अर्काले रगत बनाएको संविधानमा उभिएर आज तपाई जसलाई अर्ति उपदेश दिँदै हुनुहुन्छ । अनुरोध गर्न चाहन्छु–सुध्रिनुहोस । यो राष्ट्र र राष्ट्रियता कसैको बाउको वपौती होइन ।’ सांसद भट्टले सामाजिक सञ्जालमा स्टन्टबाज गर्नेबाट पनि देशलाई जोगाउनु पर्ने अवस्था आएको बताए ।

 

 

विगतमा राज्य संयन्त्र निकम्मा हुँदा सहकारीका वचतकर्ताको रकम डुबेको हो : मन्त्री इङ्नाम

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा. डा. कुमार इङ्नामले विगतमा सरकारी निकायहरुले सहकारीमाथि कडा नियमन गर्न नसक्दा सहकारीहरु डुब्ने स्थिति आएको बताएका छन् । राष्ट्रिय सहकारी प्राधिकरणको वार्षिकोत्सवका अवसरमा उनले राज्यले सहकारीहरुमाथि कडा नियमन गर्न नसक्दा बचतकर्ताको अबौं डुबेको बताउँदै यसको जिम्मा राज्यले नै लिनुपर्ने बताए । उनले राज्य आम नागरिकको जिम्मेवार निकाय भएकाले नागरिकको सम्पति सुरक्षणको जिम्मा राज्यले लिनैपर्ने बताए ।

इङ्नामले सहकारीमा वचत गर्नेहरु मात्रै नभई ऋणीहरु समेत डुबेको बताए । मन्त्री इङ्नामले सहकारी सञ्चालकहरुले राज्य संयन्त्रसम्मै पहुँच पुर्‍याइ बदमासी गरेका कारण आज सहकारीमा चरम बेथिति आएको बताए । उनकाअनुसार सहकारीमा बचतकर्ता मात्रै नभइ ऋणी समेत डुबिरहेको अवस्था छ । ऋणीले सहकारीलाई पैसा तिरेको बताएपनि अभिलेख कतै नराखिदाँ नतिर्ने सूचीमा परिरहेको उनको भनाइ छ ।

मन्त्री इङ्नामले भने, ‘करोड बढी वचतकर्ताको अहिले बिचल्ली भएको छ । राज्य आम नागरिकको जिम्मेवार निकाय हो । राज्यले त्यसको जिम्मा लिनुपर्छ । राज्य भनेको राज्यको मातहतमा रहेका जसले राजकीय अधिकार प्रयोग गर्छ । जसले राजकीय अधिकार प्राप्त गर्छन्, ती सबै जिम्मेवार हुनुपर्छ । उनीहरुको निकम्मापनको कारणले सहकारीमा बेथिति भयो । सहकारीमा धेरै वचतकर्ता पीडित हुन पुगे । वचतकर्ता मात्रै नभइ ऋणीहरु पनि यहाँ त रोइ रहेका छन् । विभिन्न अभिलेखहरुले ऋणीहरु पनि डुबिरहेको देखाउँछ । ऋण कसलाइ गएको हो, ऋण कसले डिपोजिट गरेको हो त्यो पनि देखिदैन । कुनै परिचय खुल्दैन । केही हदसम्म ऋणीहरुले पैसा जम्मा गरिसकेको छ । यो पनि त्यहाँ उल्लेख गरेको पाइएन ।’

मन्त्री इङ्नामकाअनुसार सहकारी बचतकर्ता सडकमा भएकाले उनीहरुको बारेमा सोच्नुपर्ने बेला आएको छ । विगतबाट सिकेर अहिले सरकारले सहकारीमाथि कडा नियमन थालिसकेको बताए । उनकाअनुसार सहकारीको सम्पूर्ण कारोबारमाथि राज्यले नियमन थालिसकेको छ । डुबिसकेका वचतकर्ताको रकम फिर्ता गराउने कार्य समेत अघि बढाइसकिएको उनले बताए । २०६० सालदेखि नै सहकारीमा समस्या आएको बताउँदै समस्या आउँदै निदान खोजिनु पर्नेमा राज्य संयन्त्रमा बसेकाहरुले ध्यान नपु¥याउँदा सहकारी विष्फोट हुन पुगेको बताए । मन्त्री इङ्नामकाअनुसार समस्याग्रस्त सहकारी संस्थाले वचतकर्ताको डुबेको रकम फिर्ता गर्ने प्रयत्न गरेपनि त्यो प्रयास पर्याप्त नभएको बताए । सहकारीको रकम लिएर भागेका सञ्चालकहरुलाई यथाशक्य नेपाल ल्याएर बचतकर्ताको रकम फिर्ता गराउनतर्फ सरकारले ध्यान दिइरहेको उनले दाबी गरे ।