`

प्रदेश गौरबका दुई सडक योजनाको काम बढेन अगाडि

पर्वत । गण्डकी प्रदेश सरकारअन्तर्गत पर्वतमा निर्माणाधीन दुई सडक आयोजना निर्माण सुरु भएको छ वर्ष हुँदा पनि सम्पन्न भएका छैनन् ।

जिल्लाको जलजला गाउँपालिकामा पर्ने मिलनचोक–सल्यान–घाखेत–धारापानी ठोट्नेरी सडक र लुंखुदेउराली–मिलनचोक– बालाकोट–होश्राङदी सडक अलपत्र अवस्थामा छन् । दुई वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का लगाइएका यी सडक छ वर्षसम्म पनि पूरा हुन सकेका छैनन् ।

२८ करोड १३ लाखमा काम सुरु भएको मिलनचोक–सल्यान–घाखेत–धारापानी ठोट्नेरी सडकको हालसम्म ६४ प्रतिशत मात्रै प्रगति भएको छ। यो खण्डमा मिनचोकदेखि सल्यानसम्म कालोपत्र भए पनि सल्यानदेखि घाखेत हुँदै धारापानीसम्म काम अगाडि बढेको छैन । सडक सम्पन्न गर्न पटकपटक म्याद थपे पनि विभिन्न बहाना बनाउँदै ढिलासुस्ती गरिरहेको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले बताए ।

दश किलोमिटर सडकमा स्तरोन्नति गर्ने योजनासहित काम सुरु भए पनि हालसम्म करिब चार किमी मात्र कालोपत्र भएको छ । अन्य खण्डको काम सुस्त गतिमा भएको कार्यालयले जनाएको छ । निर्माण सामग्री अभाव, भौगोलिक कठिनाइलगायत कारण देखाउँदै निर्माण व्यवसायीले आलटाल गरेको कार्यालय प्रमुख अर्यालले बताए ।

सडक कालोपत्र गर्न विसं २०७६ मङ्सिर ६ गते रु २८ करोड १३ लाखमा हिमदुङ एण्ड थोकर प्रालीसँग ठेक्का सम्झौता भएको थियो । प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमार्फत सञ्चालित यो सडक विसं २०७८ मंसिर ५ गते सम्पन्न गर्ने लक्ष्य थियो ।

यसैगरी, रु ११ करोड २२ लाख ६६ हजारमा निर्माण सम्झौता भएको लुंखुदेउराली–मिलनचोक– बालाकोट–होश्राङदी सडक पनि चार वर्षदेखि अलपत्र अवस्थामा छ । यो सडकखण्डमा हालसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति भएको कार्यालयले जनाएको छ । लामो समयदेखि निर्माण व्यवसायी सम्पर्कमा नआउँदा काम अगाडि नबढेको कार्यालय प्रमुख अर्यालले जानकारी दिए ।

पटक–पटक लिखित र मौखिक रूपमा काम थाल्न अनुरोध गरिए भए पनि निर्माण व्यवसायी सम्पर्कमा नआएको उनको भनाइ छ । सडक निर्माणका लागि रु चार करोड १३ लाख भुक्तानी भइसकेको छ । पछिल्लो पटक थप गरिएको अवधि पुस मसान्तमा पूरा हुँदैछ, तर ठेकेदार काममा नफर्किएको महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी भुसालले बताए ।

निर्माण व्यवसायीले नाली व्यवस्थापन नगरी भत्काएर छोडेकाले वडा नंं ५ काफलडाँडामा रहेको गाउँपालिका कार्यालय, बालाकोट र होश्राङ्दीका बासिन्दालाई दैनिक आउजाउ गर्न निकै सास्ती भइरहेको उनको भनाइ छ । पूर्वाधार विकास कार्यालय काम सुरु नगरे अब ठेक्का तोड्ने तयारी गरिएको जनाएको छ ।

राष्ट्रपतिले नागरिकलाई दशैंको टीका नलगाउने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन् । देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् । विगतमा राष्ट्रपतिबाट बडादशैंका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।

काठमाडौंका सडक सुनसान

काठमाडौं । विजयादशमीको बिहान आज काठमाडौँ उपत्यकाका सडक सुनसान जस्तै छन् । काठमाडौँबाट बाहिरका जिल्लामा दसैँ मनाउन जानेहरू गइसकेको र यही रहनेहरू घरघरमा टीकाको तयारीमा रहेकाले सडक न्यून सवारीसाधन आवागन भएको देखिन्छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडकमा यातायातका आवागमन न्यून प्रायः रहेको जनाएको छ । टीकाको समय सुरु भएपछि अन्य स्थानमा टीका लगाउन जाने र आउनेको चहलपहल भने बढ्ने कार्यालयले जनाएको छ । दसैँको नवमीका दिनसम्म छ लाख ११ हजार पाँच सय ५७ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएको कार्यालयको तथ्याङ्क छ ।

बेलायतमा कारको ठक्करबाट दुई नेपालीको मृत्यु

लन्डन । बेलायतको अल्डरसटमा कारको ठक्करबाट दुई वृद्ध नेपाली पैदल यात्रुको निधन भएको छ । फ्लिट रोडमा बुधबार बिहान करिब ६ः३० तिर निलो स्कोडा कारले ठक्कर दिँदा ७६ र ७७ वर्षीय दुई नेपाली पैदलयात्रीको घट्नास्थलमै निधन भएको ह्याम्पसायर प्रहरीले जनाएको छ ।

प्रहरीले मादक पदार्थ वा लागूऔषध सेवन गरी लापरवाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको आरोपमा कार चालक वकिङहाम निवासी ६६ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । ह्याम्पसायर प्रहरीले घट्नाको अनुसन्धान अगाडि बढाउँदै प्रत्यक्षदर्शीलाई जानकारी दिन अपिल गरेको छ ।

दुर्घटनास्थल वरपरको सीसीटीभी वा ड्यासक्याम फुटेज भए उपलब्ध गराउन प्रहरीको विशेष आग्रह छ । १०१ मा फोन गरी रिफरेन्स नम्बर ४४२५०४४३४८८ उल्लेख गरि जानकारी दिन सकिने प्रहरीले जनाएको छ ।

दशैंका बेला भएको यस दुःखद घटनाले बेलायतस्थित नेपाली समुदाय स्तब्ध छ । अल्डरसट बेलायतमा नेपाली जनसंख्या रहेको सबैभन्दा ठूलो शहर हो । तमुधिं यूके महासचिव डा. विशाल गुरुङले घट्नाप्रति दुःख व्यक्त गर्दै प्रहरी अनुसन्धानमा सघाउन स्थानीय समुदाय समक्ष अनुरोध गरेका छन् ।

 

दशैंको टीका कता फर्केर लगाउने ?

काठमाडौं । आज (असोज १६ गते) विजयादशमी, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै छ ।

टीका लगाउन आज बिहान ११ः५३ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार टीका लगाइमाग्ने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्कनु उपयुक्त हुन्छ ।

आजदेखि कोजाग्रत पूर्णिमासम्मै दसैँको टीका मान्यजनबाट ग्रहण गर्न सकिनेछ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा विजयादशमी मनाउने गरिएको हो ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाले टीका लगाइदिँदा तलको आशीर्वाद दिने चलन छ ।

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।

शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् । महिलाका लागि भनेर यस्तो आशीर्वाद दिने चलन पनि छ ।
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

अर्थात् जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा यी नाम गरेकी देवी तपाइँलाई धेरै धेरै नमस्कार छ ।

 

‘जीवित देवी’ कुमारीले सर्वसाधारणलाई दशमीको टीका लगाइ दिने

काठमाडौं । कुमारी आर्यताराले सर्वसाधारणलाई दशमीमा टीका लगाइ दिने भएकी छन् । महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराएपछि सर्वसाधरणलाई दशमीको टीका ११ बजेपछि लगाउने कार्यसूची रहेको हनुमानढोकास्थित कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिएका छन् ।

जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराइने प्रचलन छ । भवानीको प्रतीकका रूपमा कुमारीलाई सम्मान गरिन्छ ।

नवमीको रातमा पनि मूलचोक नजिकै पूजाआजाका क्रममा ५४ बोका र ५४ राँगाको बलि दिने प्रचलन छ । गए राति कालरात्रिमा समेत पशु बलि दिइएको हो । यसरी तलेजुको पूजाआजा गर्दा राज्य सञ्चालनका लागि शक्ति प्राप्त गर्ने संकल्पसहित धार्मिक गतिविधि गरिँदै आएको छ ।

विजया दशमीको टीका र आशिषको भावार्थ

काठमाडौं । आज नेपालीहरुको चाड वडादसैंको मुख्य दिन । आज दसैँको टीका ग्रहण गर्ने दिन, अर्थात् विजया दशमी । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले भोलि विहान ११ः५३ लाई टीका ग्रहण गर्ने उत्तम साइत तय गरेको छ।

विजया दशमीको टीकाका निम्ति फरक फरक आशिर्वाद हुन्छन् । श्रीमद्भागवत गीतामा उल्लेख भएकामध्ये पुरुष र स्त्रीलाई टीका ग्रहणका क्रममा फरक–फरक आशिष दिने गरिन्छ ।

पुरुषलाई दिइने आशिष

आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षेयं राघवे ।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।

शौर्य शान्तनभे बलं हलधरे सत्यं च कुन्तीसुते ।

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

नेपाली अर्थ

द्रोण पुत्र अस्वत्थामाको जस्तो आयु होस्,

राजा दशरथको जस्तो कृति होस्,

शत्रु पराजय गर्न कृष्णको जस्तो क्षमता होस्,

राजा नहुषको जस्तो ऐश्वर्य बनिरहोस्,

हावाको जस्तो तीव्र गति होस्, दुर्योधनको जस्तो मान–प्रतिष्ठा होस्,

आकाशजस्तो शान्त र पराक्रमी होस्,

बलरामको जस्तो बल होस्,

कुन्तीपुत्र युधिस्ठिरको जस्तो सत्यवादीता होस्,

विदुरको जस्तो ज्ञान होस्,

नारायणको जस्तो कृति होस् ।

महिलालाई दिइने आशिष

ॐ जयत्वं देवि चामुण्डे जय भूतापहारिणि ।

जय सर्व गते देवि काल रात्रि नमोस्तुते
मधुकैठभविद्रावि विधात्रु वरदे नमः
ॐ जयन्ती मङ्गला काली भद्रकाली

कपालिनी
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते

रूपं देहि जयं देहि यशो देहि द्विषो जही
महिषासुर निर्नाशि भक्तानां सुखदे नमः । रूपं

देहि जयं देहि यशो देहि द्विषो जही
धूम्रनेत्र वधे देवि धर्म कामार्थ दायिनि। रूपं

देहि जयं देहि यशो देहि द्विषो जही

नेपाली अर्थ
तिम्रो जय होस्।

सबै प्राणीको पीडा हरण गर्ने देवी ! तिम्रो जय होस्।

सबैमा व्याप्त रहने देवी ! तिम्रो जय होस्।

कालरात्रि देवि ! तिमीलाई नमस्कार छ ।

मधु र कैटभलाई संहार गर्नेवाली तथा ब्रह्माजीलाई वरदान दिने देवि १ तिमीलाई नमस्कार छ ।

तिमी मलाई आत्मास्वरूपको ज्ञान देऊ,

मोहमाथि विजय देऊ, यश देऊ र काम–क्रोध आदि शत्रुहरूको नाश गर ।

महिषासुरको नाश गरनेवाली तथा भक्तजनको सुख देनेवाली देवि १ तिमीलाई नमस्कार छ ।

तिमी रूप देऊ, जय देऊ, यश देऊ र काम–क्रोध आदि शत्रुहरूको नाश गर ।

रक्तबीजको वध र चण्ड–मुण्डको विनाश गरनेवाली देवि १

 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले गरे ६ जना विज्ञ र सल्लाहकारलाई बिदा

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चार जना विज्ञ र दुई सल्लाहकार गरी ६ जनालाई पदबाट बिदा दिएका छन् । अर्थ मन्त्रालयले अनुत्पादक र फजुल खर्च कटौती गर्ने नीति अघि बढाएपछि यस्तो निर्णय गरिएको हो ।

मुख्यमन्त्री आचार्यले नेपाल भने, ‘प्रदेश सरकारको सुरुमै पूर्व विशिष्टहरूको सेवा रोक्ने निर्णयले राम्रो सन्देश दिएको थियो । कार्यलाई सहज बनाउन विज्ञ र सल्लाहकार राखिएका थिए, तर खर्च घटाउने उद्देश्यले उहाँहरूसँग सहमतिमा बिदा गरिएको हो ।’ उनले बिदाई पत्रसमेत बुझाइसकेको समेत जानकारी दिए ।

प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरूले सुविधाका नाममा अत्यधिक सचिवालय र स्वकीय सचिव राखेर खर्च वृद्धि गरेको आरोपपछि सरकारले यस्तो कदम चालेको हो । लुम्बिनीमा १४ जनाको ठूलो सचिवालय र सल्लाहकार समूहलाई लिएर आलोचना भएको थियो ।

नयाँ नियम अनुसार मुख्यमन्त्री, मन्त्री र प्रदेश प्रमुखको स्वकीय सचिवालयमा बढीमा तीन जना मात्र राख्न पाइने व्यवस्था लागू हुने भएकोले अझै पाँच जना कर्मचारीलाई बिदा गरिने सम्भावना रहेको छ ।

यस्तै बिदा पाएका व्यक्तिहरूमा राजनीतिक सल्लाहकार लक्ष्मणराज ज्ञवाली, जनसम्पर्क सल्लाहकार रामबहादुर राउत र अर्थ, पूर्वाधार, ग्रामीण विकास तथा शिक्षाका विज्ञहरू रहेका छन् ।

ज्ञवालीले मासिक ८० हजार ८४० रुपैयाँ तलब पाउँदै राज्यमन्त्री सरह सुविधा भोग्दै आएका थिए भने राउतले पनि सहायक मन्त्री सरह ६४ हजार ८०० रुपैयाँ मासिक तलब पाउँथे । विज्ञहरूले पनि मासिक ६० हजार रुपैयाँभन्दा बढी तलब पाउने गरेका थिए । शिक्षाविज्ञ दलबहादुर गुरुङले सबैले सहमतिमा बिदा लिएको पुष्टि गरेका छन् र प्रदेश सरकारबाट सम्मानपूर्वक बिदाई पत्र पाइसकेको बताए ।

महावीर पुनले एक करोड खर्चेर छोरीलाई विदेशमा पढाएको हल्ला बदनियतपूर्ण : सुनिल शर्मा

काठमाडौं । शिक्षामन्त्री, समाजसेवी तथा आविष्कारक महावीर पुनविरुद्ध सामाजिक सञ्जाल र बजारमा फैलिएको ‘छोरीलाई विदेशमा एक करोड खर्चेर पढाइएको’ भन्ने हल्ला पूर्णरूपमा झूट्टा र निराधार भएको नेपाली कांग्रेसका नेता सुनिलकुमार शर्माले दावी गरेका छन् ।

पुनकी छोरी झरनाको एमबीबीएस शिक्षाका लागि आफूले समेत सहकार्य गरेको बताउँदै उनको शिक्षासम्बन्धी सबै प्रक्रिया अत्यन्त पारदर्शी, सहयोगी व्यक्तिहरूको समन्वयमा आर्थिक व्यवस्थापन गरिएको दावी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै कांगेस नेता शर्माले नेपाल चिकित्सा शिक्षा आयोगसँगको संवादका क्रममा पुनको छोरीको शिक्षाका लागि छात्रवृत्ति र भर्ना प्रक्रिया सहज बनाउन पहल गरिएको थियो । ‘हामीले छात्रवृत्तिका लागि औपचारिक अनुरोध पनि गरेका थियौं, तर विभिन्न कारणले त्यो प्रक्रिया पूर्ण रूपमा सफल हुन सकेन’, नेता शर्माले सामाजिक सञ्जालमा लेखेका छन् ।

महावीर पुनले छोरीलाई विदेश पठाउने निर्णय गर्दा आर्थिक व्यवस्थापनका लागि सहयोग प्राप्त गरे पनि, त्यो खर्च एक करोड रुपैयाँ नभएको नेता शर्माको भनाइ छ । नेता शर्माका अनुसार पुनकी छोरीको पासपोर्ट तयार थिएन र विदेश पठाउने तयारी सुरु गर्दा महावीर पुनले अलिक अनाकानी देखाएका थिए ।

त्यस बेला पैसाको समस्या भए सहयोग गर्ने प्रस्ताव पनि गरिएको थियो । डा. गोविन्द केसीको आन्दोलन र देशमा चिकित्सा शिक्षासम्बन्धी नीतिगत समस्याका कारण नेपालका धेरै मेडिकल र नर्सिङ्ग कलेजका सिट कटौती र बन्द हुने अवस्था भएकोले यो समस्या थप जटिल बनेको थियो ।

यस्तै क्रममा, एक पुराना साथी डा. नरेन्द्र मिश्रलाई सहयोगका लागि पठाएर पुनकी छोरीको भर्ना प्रक्रिया सुरु गरिएको नेता शर्माले जानकारी गराएका छन् । नरेन्द्र मिश्र पुतलीसडकस्थित आधार एजुकेशन प्रालिमा कार्यरत थिए र उनले कुनै कन्सल्टेन्सी शुल्क नलिई छोरीलाई ढाका विश्वविद्यालय अन्तर्गत पर्ने जहारूल इस्लाम मेडिकल कलेज, वाजितपुरमा भर्ना गराउन सहयोग गरेको शर्माले बताएका छन् ।

छोरीले नेपालको चिकित्सा शिक्षा आयोगको एकिकृत प्रवेश परीक्षामा उत्तीर्ण भई Ranking नं. ६५१८ पाएकी छिन् । अध्ययनको मासिक शुल्क ६२१ अमेरिकी डलर (नेरू ८७,५९१) रहेको छ भने जम्मा खर्च करिब ४१,००० अमेरिकी डलर रहेको छ । महावीर पुनले अहिलेसम्म ५० प्रतिशतभन्दा बढी रकम नतिरेको र बाँकी रकम जुटाउन प्रयासरत रहेको शर्माले दावी गरेका छन् ।

‘हामीलाई प्राप्त विवरण अनुसार महावीर सरले आधाभन्दा बढी शुल्क तिरेका छैनन् र बाँकी रकम जुटाउने प्रयासमा छन्’, उनी भन्छन् । शर्माले भनेका छन्, ‘यो हल्ला फैलाउनेहरूले महावीर पुन जस्ता निःस्वार्थ समाजसेवीलाई बदनाम गर्न खोजेका हुन्, जुन अनुचित र गलत हो ।’
शर्र्माले महावीर पुनको सरल जीवनशैली र चरित्रको पनि स्मरण गर्दै उनको समाजप्रतिको योगदानलाई सम्मान गर्न आग्रह गरेका छन् । ‘हामीले महावीर पुनलाई निरन्तर समर्थन गर्नुपर्छ ताकि उनी आफ्नो अभियानलाई थप प्रभावकारी ढंगले अघि बढाउन सकुन्’, उनले भने ।

स्थानीय खसी–बोकामै निर्भर

बागलुङ । हिमालपारीको जिल्ला मुस्ताङबाट आयात गरेका च्याङ्ग्रा गाउँ पुग्न नपाएपछि खसीबोकामै स्यानीयले दसैँ मान्न थालेका छन् ।बागलुङमा कम मात्रमा च्याङ्ग्रा आयात तथा महँगो भएपछि स्थानीय खसीबोकाकै भरमा दसैँ मान्न थालिएको हो । हिमाली च्याङ्ग्रा बागलुङ बजार क्षेत्रमै खपत भएपछि गाउँ–गाउँमा दसैँ मनाउन स्थानीय खसीबोकाकै भर पर्नुपर्ने अवस्था रहेको छ ।

मुस्ताङबाट बागलुङमा करिब ३५० च्याङ्ग्रा भित्रिएपछि उक्त च्याङ्ग्रा गाउँ पुग्न नपाएको मासु व्यापारी बताउँछन् । च्याङ्ग्राको मूल्यमा दुई खसीबोका आउने गरेको भन्दै स्थानीयले दसैँमा स्थानीय खसीबोकामै निर्भर रहनुपर्ने बताइएको छ ।

बागलुङमा समेत मुस्ताङी च्याङ्ग्रा बिक्रीका लागि आएका भए पनि च्याङ्ग्राको भाउमा दुई खसीबोका खरिद गर्न सकिने भएपछि स्थानीय खसीबोकाप्रति आकर्षण बढेको व्यवसायी बलबहादुर थापाले बताए । ‘अहिले च्याङ्ग्राको मूल्य रु ३५ हजार भन्दामाथि छ, काटेर किलोका दरले बिक्री गर्दा दुई हजार ५०० पर्ने गरेको छ’, थापाले भने, ‘मूल्य महँगो पर्ने भएपछि स्थानीय खसी बोकाकै मासुको माग बढी हुन्छ ।’

दसैंँ तिहारमा च्याङ्ग्राको मासु खाने प्रचलन भए पनि भाउ महँङ्गो भएपछि स्थानीयमा खसीबोका र कुखुराको माग बढी हुन थालेको छ । रु एक हजार १५० प्रतिकिलो खसीको मासु रहेको बागलुङ बजारमा च्याङ्ग्राको मासुलाई झण्डै तीन गुणा बढी मूल्य पर्न जाने गरेको छ । च्याङ्ग्राको मूल्य निकै महँगो भएपछि खसी बोकाको माग उच्च देखिएको र एक हप्तामा १० वटा खसी तथा बोका काटेर बिक्री गरिसकेको बागलुङ बजारका मासु व्यवसायी थापाको भनाइ छ ।

पर्यटकीय ‘सिजन’ मै सुनसान मनाङ

मनाङ । असोजको पहिलो सातादेखि हिमाली जिल्ला मनाङ विदेशी तथा स्वदेशी पर्यटकले भरिभराउ हुन्थे । अग्रिम बुकिङ गरी होटलमा बस्न समेत ठाउँ नपाइने यतिबेलाको समयमा यस वर्ष मनाङ सुनसान छ ।

विदेशी पर्यटक विश्वकै १०औं स्थानमा पर्ने अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ र मुस्ताङको सिमानास्थित थोराङ्ला भञ्ज्याङ, विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो तालको भ्रमण तथा हिमलुङ हिमाल, मनास्लु हिमाल अरोहण गर्न आउने गर्दथे । स्वदेशी पर्यटक भने चाडपर्वको समयमा लामो बिदामा मनाङलाई भ्रमणको गन्तव्य बनाएर पुग्ने गर्दथे । तर, पर्यटकको लर्को लाग्ने यस समयमा नै यस वर्ष सुनसान छ ।

यहाँको सौन्दर्यताले विदेशी पर्यटकलाई आकर्षण गर्दै यहाँको आयस्रोतले देशकै अर्थतन्त्रमा प्रभाव पार्दछ । तर, मुख्य पर्यटकीय समयमा नै पर्यटकको आगमन भएको छैन । विगतमा विदेशी पर्यटक खचाखच हुने भए पनि यसवर्ष जेनजी आन्दोलनले यहाँको पर्यटकीय क्षेत्रमा परेको प्रभावले देशको अर्थतन्त्रलाई नै असर गरेको प्रत्यक्ष बुझ्न सकिने पर्यटन व्यवसायी संघका अध्यक्ष विनोद गुरुङले बताए ।

उनले भने, ‘यहाँका मुख्य आयस्रोत नै पर्यटन र कृषि हो, तर जेनजी आन्दोलनले देशमा नै पर्यटकको आगमन नहुँदा यसवर्ष मनाङमा पनि आउन सकेका छैनन्, यसले देशको अर्थतन्त्रमा नै ठूलो प्रभाव पार्ने देखिएको छ ।’ आम्दानी नहुँदा देशलाई परेको नोक्सानलाई ‘रिकभर’ गर्न सकस हुने गुरुङको भनाइ छ । विशेषगरी मनाङको राजस्वले देशकै अर्थतन्त्रमा ठूलो भूमिका रहेको उनले बताए ।

आन्दोलन अघिसम्म पर्यटकको आगमन र चामेमा रहेको तातोपानी कुण्डमा विदेशी पर्यटकको घुइँचो लाग्न थालेकामा अहिले सुनसान रहेको प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले जानकारी दिए । पर्यटकले विस्तारै चामे छाड्दै गएपछि पछिल्ला दिनमा त्यो क्षेत्र पनि सुनसान भएको उनले बताए ।

‘गत हप्ता यहाँ पर्यटक खचाखच भएको थियो, अहिले त स्वेदशी, विदेशी पर्यटक कोही पनि भेटिँदैनन्’, प्रजिअ पौडेलले भने, ‘केही दिनअघिसम्म साँझपख तातोपानी कुण्डमा नुहाउने विदेशी पर्यटक टन्नै भेटिन्थे, तर केही दिनयता शून्य छ ।’ पर्यटक शून्य हुनुमा जेनजी आन्दोलन र सडक सञ्जाल नै प्रमुख कारण भएको उनको भनाइ छ ।

विशेष गरी जेनजीको आन्दोलनको प्रभावका साथै मनाङ भित्रिने लमजुङ खण्डको बाटो हिलाम्मे हुनु र स्थलमार्गबाट काठमाडौँदेखि बेँसीसहर हुँदै मनाङ आउने पर्यटकलाई ठाउँठाउँमा पहिरोले गरेको अवरोध नै मुख्य कारण बनेको छ । चितवनमा गएको पहिरो र यातायात सञ्चालनमा परेको कठिनाइले गर्दा पनि यहाँ सुनसान बनेको छ ।

थोरै जनसंख्या भएको मनाङमा आन्तरिक पर्यटकको पनि यस पटक आगमन नभएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले बताए । चाडपर्वका बेलामा घुम्ने परम्परा विकसित भएसँगै यहाँ आन्तरिक पर्यटक पनि वर्षा, पहिरो तथा जेनजी आन्दोलनको असरले आउन नसकेको उनको भनाइ छ । विगतका वर्षमा आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने यहाँका होटेल यसपाली पर्यटकीय मौसमको सुरुमै सुनसान बनेको होटेल व्यवसायी फुर्वा लामाले बताए । यहाँका बुकिङ भएका होटेल पनि रद्द भएका उनले जानकारी दिए ।

जेनजी आन्दोलनको असर र दुई दिनमा उल्टिएको सत्ताले गर्दा विदेशी पर्यटक एकै चोटी ह्वात्तै घटेको नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङको तर्क छ । अध्यक्ष गुरुङले भने, ‘यस वर्ष सुनसान छ मनाङ, पर्यटक भित्रिने मुख्य प्रवेशद्वारका रूपमा मेरै गाउँपालिका पर्छ, गतवर्ष यति बेला बाटो हिँड्न पनि मुस्किल पथ्र्यो, अहिले विदेशी पर्यटक देखिएका छैनन् ।’

जिल्लामा भएका कर्मचारी पनि कार्यालय सहयोगीलाई कार्यालय कुर्ने जिम्मेवारी दिँदै दसैँ बिदामा घर फर्किसकेका छन् । यसले गर्दा मनाङ झनै सुनसान भएको छ । कर्मचारी मात्रै नभइ ९० प्रतिशत मनाङवासीको काठमाडौँ, पोखरा, चितवनलगायतका सहरमा घर तथा व्यापार व्यवसाय छ । उनीहरूका बालबच्चा सहरमा अध्ययन गर्छन् । जनप्रतिनिधि तथा व्यवसायी आफ्नो परिवारसँग बसेर चाडपर्व मनाउन सहर जाने गर्दछन् । यसले गर्दा पनि गाउँ सुनसान हुँदै गएको छ ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले आफू पनि परिवारका साथ चाडपर्व मान्न काठमाडौँतिर लागेको बताए । अध्यक्ष लामाले पनि जेनजी आन्दोलनले गर्दा यहाँको पर्यटनमा असर परेको बताए । सुस्ताएको पर्यटन व्यवसायलाई उठाउने प्रयासमा सरकारको ध्यानाकर्षण हुनुपर्नेमा स्थानीयको माग छ । मनाङ देशकै पहिलो वैदेशिक व्यापारिक सम्बन्ध कायम गर्ने भएकाले यस्ता कार्यमा मनाङवासी चिन्तित बनेका छन् ।

प्रहरी महानिरीक्षक खापुङबाट बडादशैंको मौलो पूजा

काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले बडादसैँका अवसरमा आज नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा संकल्प पूजा गरेका छन् ।

नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक खापुङले बलि पूजा गर्नुका साथै निसानमा पञ्जा छाप समेत लगाए । साथै प्रहरी महानिरीक्षक खापुङले मौलोपूजाका अवसरमा विशेषकार्य गर्ने प्रहरी नायब निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हबल्दार रामकुमार कार्कीलाई नगद पुरस्कार प्रदान गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक खापुङ, प्रहरी अतिरिक्त महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गरेका थिए । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहणसमेत गरिएको थियो ।

नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । त्यसमा दुई वटा निशान रहेका हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बीचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ ।

नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमनचयन कायम राख्ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपीठ र इष्ट देवताको प्रतिकका रूपमा निशान झण्डालाई लिइन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रहिआएको छ ।

नेपाल प्रहरीले विक्रम संवत् २०११ मा निशान झण्डा प्राप्त गरेपश्चात हरेक वर्ष बडादशैँ र चैते दशैँमा निरन्तररूपमा मौलो पूजा गर्दै आएको छ । साथै देशभरका विभिन्न प्रहरी कार्यालयमा रहेका मौलोमा मौलो पूजा गर्ने परम्परा रहीआएअनुरूप आजै सम्पूर्ण प्रहरी एकाइमा समेत विधिवत रूपमा मौलो पूजा सम्पन्न गरिएको छ ।

दशैंमा ६ लाख बढीले छाडे काठमाडौं

काठमाडौं । दशैंको घटस्थापनादेखि आजसम्मको नवौं दिनको अवधिमा मात्रै ६ लाख ११ हजार ६५७ जनाले काठमाडौँ छाडेका छन् ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना सुरु भएको दिनदेखि आजसम्म सो संख्यामा यात्रु विभिन्न नाकाबाट काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३९६ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।

दशैं सुरु भएसँगै काठमाडौँ उपत्यका छाड्ने नागरिकको संख्या तीव्र रुपमा बढ्दै गएको र पछिल्लो २४ घण्टामा मात्र १३ हजार ३२६ यात्रुवाहक सवारी साधन उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनले भने, ‘अहिले राजधानी छाडेर जानेको संख्या बढेको छ, काठमाडौँ भित्रिने र बाहिरिने नाकामा सामन्य तरिकाले सवारी साधन चलिरहेका छन् ।’ घटस्थापनादेखि आजसम्म काठमाडौँ उपत्यकाबाट बाहिरिएका सवारी साधनको संख्या एक लाख १३ हजार ४१५ पुगेको छ । यिनै सवारी साधनमार्फत यात्रामा निस्किनेहरुको मुख्य गन्तव्य भने देशका पूर्वी, पश्चिमी र सुदूरपश्चिम प्रदेशका जिल्ला रहेका छन् ।

काठमाडौँ उपत्यकामा ७७ हजार ५४५ सवारी साधनबाट तीन लाख १९ हजार १५ जना आजसम्म भित्रिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विशेषगरी कोटेश्वर, कलङ्की, बल्खु, नयाँ बसपार्क, जगती लगायतका नाकामा यात्रुको भीड देखिएको छ ।

दशैंको टीकाको अघिल्लो दिन पनि काममै कुलमान, बीपी राजमार्ग निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले नवमीको दिन आज (बुधबार) बीपी राजमार्गको सवारी आवतजावत व्यवस्थापन र बाढीले क्षतिग्रस्त सडक पुनर्निर्माण कार्यको समीक्षा गर्न निरीक्षणका लागि पुगेका छन् ।

निरीक्षणमा मन्त्री घिसिङसँगै सडक विभागका महानिर्देशक र सम्बन्धित आयोजनाका अधिकारीहरू पनि सहभागी भएका छन् । मन्त्री घिसिङले चाडपर्वको भीडभाडलाई मध्यनजर गर्दै यात्रुहरूलाई सहज आवतजावतको व्यवस्था गर्न अस्थायी व्यवस्थापन चुस्त बनाइराख्न तथा स्थायी पुनर्निर्माणमा छिटो काम अघि बढाउन निर्देशन दिए ।

जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको बीपी राजमार्ग १६० किलोमिटर लामो छ जसमा गत वर्षको बाढीले ३०.५ किलोमिटर सडक भाग क्षतिग्रस्त भएको थियो । हाल इन्टरमिडियट लेनमा भइरहेको पुनर्निर्माणमा क्षतिग्रस्त खण्डलाई दुई लेनको सडकमा रूपान्तरण गरिनेछ ।

मन्त्री घिसिङले भने, ‘बाढीले क्षतिग्रस्त सडक खण्डको पुनर्निर्माणका लागि आवश्यक ठेक्का सम्झौता भइसकेको छ र जापान सरकारको सहयोगमा बाँकी सडक पुनर्निर्माणको तयारी भइरहेको छ । दशैँपछि तीव्र गतिमा काम सुरु गरिनेछ ।’ उनले आगामी भारी वर्षाको पूर्वानुमान समेत उल्लेख गर्दै सबै चालकलाई सतर्कता अपनाउन र यात्रुहरूलाई पनि हतार नगरी सुरक्षित यात्रा गर्न आग्रह गरे ।

सामुहिकरुपमा सयपत्री फूल खेती गर्दै महिला

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाहरुले सयपत्री फूलखेती विस्तार गरेका छन् । यहाँका महिला विगत तीन वर्षदेखि सयपत्री फूलखेतीमा रमाइरहेका छन् ।

पहिलो वर्ष २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका महिलाले दोस्रो वर्ष ४० रोपनी क्षेत्रफलमा फूलखेती गरेका थिए । यस वर्ष त्यसलाई विस्तार गरी ५० रोपनी क्षेत्रफल पुर्‍याएको यान्चोकटार महिला लघु उद्यमी समूहका अध्यक्ष सुन्तली गुरुङले जानकारी दिइन् । समूहमा आबद्ध महिला सयपत्री फूल खेतीतर्फ आकर्षित भएको उनले बताइन् ।

बजारको समस्या नहुने भएपछि समूहमा आबद्ध महिला व्यावसायिक रुपमा फूलखेतीमा लागिरहेको उनको भनाइ छ । गाउँपालिकाले उत्पादित फूलको बजारीकरणमा सघाउँदै आएकाले सहज भएको उनले उल्लेख गरिन् । तिहार नजिकिँदै गरेकाले उत्पादित फूल टिप्न सुरु गरिएको उनले जानकारी दिइन् ।

समूहमा आबद्ध ७० महिलाले सयपत्रीको फूलखेती गरिरहेका छन् । गुरुङले भनिन्, ‘चाडपर्वलगायत अन्य कार्यक्रमका लागि सयपत्री बाहिरबाट ल्याउन नपरोस भनेर पालिकाले फूलखेती गर्ने अभियान सुरु गरेको हो ।’ गाउँपालिकाले समूहमा आबद्ध महिलालाई फूलखेतीका लागि आवश्यक सीप समेत सिकाएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए ।

उनले भने, ‘फूलखेती गर्ने तरिका, टिप्ने तरिकासँगै माला बनाउने सीप पनि महिलाहरुलाई प्रदान गरिएको छ ।’ आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सयपत्री फूलखेतीले महिलालाई आत्मनिर्भर बन्न सहयोग पुगेको बताए ।

चट्याङ लागेर महिलाको मृत्यु

झापा । झापामा चट्याङ लागेर आज एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोड नगरपालिका–३ निवासी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको हो ।

आज बिहान ११ बजे वर्षासँगै परेको चट्याङ लाग्दा उनी घाइते भएकी थिइन् । मुसहर बस्ती निवासी खेतमा बाख्रा लिन गएका बेला उनलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । घाइते ऋषिदेवलाई उपचारका लागि बिर्तासिटी अस्पताल लैजाँदा गर्दा बाटोमै मृत्यु भएको हो ।

फिलिपिन्स भूकम्प, मृत्तकको संख्या ६० पुग्यो, सयौं घाइते

बोगो । मध्य फिलिपिन्सको सेबु टापुमा गएको शक्तिशाली भूकम्पका कारण निधन हुनेहरूको संख्या बुधबारसम्म ६० पुगेको छ भने सयौँ घाइते भएका छन् । घाइतेहरूको भीडले अस्पतालहरू भरिएका कारण कतिपयलाई बाहिर निलो टेन्टमुनि उपचार गर्न बाध्य हुनुपरेको छ ।

अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) का अनुसार मङ्गलबार साँझ ९ः५९ बजे (१३ः५९ जिएमटी) सेबु प्रान्तको बोगो नजिकै केन्द्रविन्दु भएर ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो । यस सहरमा करिब ९० हजार मानिस बसोबास गर्छन् ।

भूकम्पपछि लगातार सयौँ पटक परकम्प आएका कारण स्थानीय बासिन्दा रातभर बाहिरै बस्न बाध्य भए । अस्पताल परिसरमा घाइते बालबालिकाहरू रोइरहेका र वयस्कहरू चिच्याइरहेका दृश्य देखिएको थियो । त्यहीँ कर्मचारीहरूले स्ट्रेचरमा कालो शरीरका झोलाहरू राखी शव गृहतर्फ लैजाने कार्य जारी राखेका थिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार केन्द्रीय टापुहरूमा १४७ जना घाइते भएको र कम्तीमा २२ भवन क्षतिग्रस्त भएको पुष्टि गरिएको छ । नागरिक सुरक्षा उप–प्रशासक राफेलिटो अलेजान्ड्रोले पत्रकारहरूसँग भने, ‘हामीलाई थप हताहतको विवरण प्राप्त भइरहेको छ, परिस्थिति अत्यन्त संवेदनशील र परिवर्तनशील छ ।’

स्थानीय उद्धारकर्ता टेडी फन्टिलासका अनुसार बोगोको अस्पताल भरिसकेपछि घाइतेहरूलाई करिब १०० किलोमिटर टाढा रहेको प्रान्तीय राजधानी सेबु सहरका अस्पतालतर्फ सार्नुपरेको छ । सेबु प्रान्तीय गभर्नर पामेला बारिकुएट्रोले आफ्नो आधिकारिक फेसबुकमार्फत गम्भीर घाइतेहरूको उपचारका लागि अस्पताल बाहिर समेत आपतकालीन उपचार गर्नुपरेको जानकारी दिए ।

भूकम्पका कारण ऐतिहासिक संरचना र सार्वजनिक भवनहरूमा समेत क्षति पुगेको छ । सेबु नजिकैको बान्टायन टापुको पुरानो क्याथोलिक चर्चको बेल्फ्री खस्दा भाग्यवश कसैलाई चोट नलागेको प्रत्यक्षदर्शीहरूले बताए । त्यस्तै, स्थानीय टेलिभिजनले सेबु पुल हल्लिँदा मोटरसाइकल यात्रीहरू रेलिङ समातेर ज्यान जोगाइरहेको दृश्य देखाएको छ ।

अनलाइन व्यापारी जेफोर्ड मारङ्गा (२१) ले भने, ‘हामी फुड कोर्टमा थियौँ, अचानक सबैतिर थरथर हल्लियो । मलको छत खस्न सक्छ भन्ने डरले हामी टेबलमुनि लुक्यौँ ।’ उनका साथी सामान्य घाइते भएका थिए ।

सेबु प्रान्तीय सरकारले उद्धारमा सहयोग गर्न चिकित्सक र स्वयंसेवकलाई आह्वान गरेको छ । प्रान्तीय उद्धार अधिकारी विल्सन रामोसका अनुसार अँध्यारो र निरन्तर परकम्पले उद्धार कार्यमा थप कठिनाइ ल्याएको छ ।

फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार हालसम्म ३७९ पटक परकम्प आइसकेका छन् । भूकम्पपछि सेबु र वरपरका टापुहरूमा विद्युत् आपूर्ति अवरुद्ध भए पनि मध्यरातपछि पुनः सञ्चालनमा ल्याइएको छ ।

बान्टायनमा एक व्यावसायिक भवन र विद्यालय ढलेका छन् भने बोगोस्थित फास्टफुड रेस्टुरेन्टमा ठूलो क्षति पुगेको छ । स्थानीय बासिन्दा एग्नेस मेर्जाले आफ्नो घरको भान्साको टाइल भत्किएको र छिमेकीहरू घरबाट भागेको अनुभव सुनाउँदै भने, ‘यो मेरो जीवनकै पहिलो ठूलो अनुभव हो । यस्तो लाग्यो कि हामी सबै तलै खस्नेछौँ ।’

त्यस्तै, टाबोगन सहरका सडकहरूमा करिब पाँच सेन्टिमिटर दरार देखिएको छ । सुरुमा युएसजिएसले ७।० म्याग्निच्युडको भूकम्प भएको बताए पनि पछि ६.९ मा परिमार्जन गरिएको हो । प्यासिफिक सुनामी चेतावनी केन्द्रले भने यस भूकम्पबाट सुनामीको कुनै खतरा नभएको स्पष्ट पारेको छ ।

फिलिपिन्स प्रशान्त महासागरको ‘रिङ अफ फायर’ मा अवस्थित भएकाले यहाँ दैनिकजसो हल्का भूकम्प अनुभव हुने गर्दछ । यद्यपि यस पटकको जस्तो शक्तिशाली र विनाशकारी भूकम्प कहिले र कहाँ आउँछ भन्ने भविष्यवाणी गर्ने प्रविधि अझै उपलब्ध छैन ।

इन्डोनेसियामा विद्यालय भवन ढल्दा मृत्यु हुनेको संख्या ९१ पुग्यो

काठमाडौं । इन्डोनेसियाको मुख्य टापु जाभामा अवस्थित सिडोआरजो शहरको एक बहुतले इस्लामिक बोर्डिङ विद्यालय ढल्दा कम्तीमा ९१ जनाको ज्यान गएको छ । अधिकारीहरूका अनुसार अझै धेरै जना भग्नावशेषमुनि फसेको आशंका गरिएको छ र उद्धार टोलीहरू बाँचेका व्यक्तिहरूको खोजीमा अहोरात्र खटिएका छन् ।

स्थानीय प्रतिवेदनअनुसार उक्त विद्यालय सोमबार दिउँसो विद्यार्थीहरू प्रार्थनाका लागि भेला भएका समयमा एक्कासि भत्किएको थियो । राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले विज्ञप्ति जारी गर्दै भने, ‘विद्यार्थी उपस्थितिको विवरणअनुसार करिब ९१ जना अझै भवनको भग्नावशेषमुनि गाडिएको आशंका गरिएको छ।’

यसअघि प्रारम्भिक जानकारीअनुसार तीन जनाको मृत्यु भएको र ३८ जना बेपत्ता रहेको पुष्टि भएको थियो । तर, पछिल्लो विवरणअनुसार मृत्यु हुनेहरूको संख्या ठूलो मात्रामा बढेको हो । अधिकारीहरूले बुधबार पत्रकार सम्मेलनमा बेपत्ता हुनेहरूको सही संख्या अझै पुष्टि गर्ने प्रयास भइरहेको बताए । यसबीच, उद्धार टोलीले भग्नावशेषमुनि फसेकाहरूसम्म जीवनरक्षक आपूर्ति पुर्‍याउन विशेष ध्यान दिएको छ ।

राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीका अपरेसन प्रमुख एमी फ्रिजरका अनुसार सातवटा क्षेत्रमा जीवनको संकेत पाइएको छ र त्यहाँ केन्द्रित भएर उद्धार भइरहेको छ । ‘मुख्य संरचना पूर्ण रूपमा ध्वस्त भइसकेको छ । हामीले प्राथमिकता ती व्यक्तिलाई दिएका छौँ जो अझै पनि प्रतिक्रियाशील अवस्थामा छन्’, फ्रिजरले भने ।

बुधबार बिहानदेखि दर्जनौँ अभिभावकहरू ढलेको विद्यालयको भग्नावशेष नजिकै बस्दै आफ्ना छोराछोरीको सुरक्षाबारे चिन्तित मुद्रामा प्रतीक्षा गरिरहेका थिए । उद्धार टोलीले भारी मेसिनरी र हातैले भग्नावशेष हटाउँदै बाँचेका व्यक्तिहरूलाई जीवितै निकाल्ने प्रयासलाई निरन्तरता दिइरहेका छन् ।

अक्टोबर ९ मा जेनजीको कुनै प्रदर्शन छैन, शान्ति बिथोल्न चाहँदैनौं : मिराज ढुंगाना

काठमाडौं । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले अक्टोबर ९ मा जेनजीतर्फबाट कुनै प्रदर्शनको कार्यक्रम नरहेको स्पष्ट पारेका छन् । अक्टोबर ९ मा जेनजीको प्रदर्शन भन्दै सामाजिक सञ्जालहरुमा विभिन्न प्रचार भएपछि उनले यसबारे स्पष्टीकरण दिएका हुन् ।

‘अक्टोबर ९ मा कुनै पनि खालको हिंसा हुने काम, तोडफोड हुने काम यस्तो काममा हाम्रो संलग्नता हुने छैन, जेनजीहरूको संलग्नता हुने छैन । मुसो मार्न गएको हामीले बाघ मारेर ल्यायौं । अब बाघ उचाल्न सकिँदैन जंगलबाट,’ उनले भिडिओ सन्देश जारी गर्दै भनेका छन्, ‘एजेण्डा बिना, के गर्ने त्यसपछि भन्ने त्यो थाहा नपाइकन हामी कुनै खालको प्रदर्शनमा सहभागिता जनाउँदैनौं,’ ढुंगानाले भनेका छन्, ‘परेको खण्डमा शान्तिपूर्ण प्रदर्शन गरौंला । तर, हिंसा हुने खालको प्रदर्शनमा हाम्रो संलग्नता हुने छैन ।’

बजेट अभावमा बन्द भयो अमेरिकाको सरकार

वासिङ्टन । अमेरिकामा मध्यरात बजेसँगै कङ्ग्रेसले कोषसम्बन्धी अस्थायी उपाय पारित गर्न असफल भएपछि संघीय सरकार आधिकारिक रूपमा बन्द भएको छ । ‘अब के हुन्छ भन्ने स्पष्ट छैन’ भनेर सिएनएनले उल्लेख गरेको छ । सन् २०१९ पछि यो पहिलो सरकारी बन्द हो ।

दुवै पार्टीका नेताहरू दोषारोपमा अडिग छन् । रिपब्लिकनहरूले हालको कोषलाई अझ सात हप्तासम्म विस्तार गर्न डेमोक्रेटहरूको सहमति आवश्यक भएको दाबी गरेका छन् भने डेमोक्रेटहरूले आवश्यक सहुलियत बिना सिनेटमा कुनै कोषसम्बन्धी प्रस्तावलाई समर्थन गर्न अस्वीकार गरेका छन् ।

डेमोक्रेटिक नेता हाकिम जेफ्रीज र चक शुमरले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकनहरूलाई दोषारोपण गरेका छन् । ‘महिनौँसम्म जनताको जीवन कठिन र महँगो बनाएपछि, डोनाल्ड ट्रम्प र रिपब्लिकनहरूले अब सङ्घीय सरकार बन्द गराउनुभएको छ किनभने उहाँहरू अमेरिकी जनताको स्वास्थ्य सेवाको रक्षा गर्न चाहनु हुन्न’, विज्ञप्तिमा उल्लेख छ ।

यो बन्द कति समयसम्म रहने भन्नेबारे गहिरो अनिश्चितता छ । सिनेटरहरू आज राति क्यापिटलबाट निस्कँदा समाधानबारे कुनै निश्चितता थिएन । भोलि बिहान फेरि रिपब्लिकनहरूले प्रस्तुत गरेको उही कोष योजनामाथि मतदान हुने बताइएको छ । रिपब्लिकन नेताहरूले आवश्यक संख्यामा डेमोक्रेटहरूको समर्थन नआएसम्म सो प्रस्ताव दैनिक रूपमा मतदानका लागि ल्याउने घोषणा गरेका छन् ।

सरकारी बन्दले लाखौँ संघीय कर्मचारीहरूलाई ‘अवकास’ मा पठाउनेछ, भने आवश्यक सेवामा पर्नेहरूलाई भने काम गर्नुपर्ने तर गतिरोध अन्त्य नभएसम्म तलब नपाउने स्थिति रहनेछ । तर, केही कर्मचारीले भने निरन्तर तलब पाउनेछन्, किनभने उनीहरूको जागिर कङ्ग्रेसको वार्षिक विनियोजनबाट प्रत्यक्ष वित्तपोषित हुँदैन ।

सामान्यतया, जीवन र सम्पत्तिको सुरक्षा जस्ता आवश्यक कार्यहरू भने जारी रहनेछन् । अघिल्ला बन्दहरूले अध्यागमन सुनुवाइहरू रद्द गरेका थिए, घर खरिदकर्ताहरू र साना व्यवसायहरूलाई संघीय ऋण उपलब्ध गराउन ढिलाइ गरेका थिए र विभिन्न क्षेत्रमा अवरोध ल्याएका थिए । एएनआई

बालकको नृशंस हत्या : पेनड्राइभ र चाउचाउ चोरेको आरोप

रुकम पश्चिम । रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२ लामाचोकमा १३ वर्षीय बालक डिल्ली नाथको विभत्स हत्या गरिएको छ । सोमबार बिहानदेखि बेपत्ता बालकको शव मंगलबार बिहान खोल्सामा फेला परेको हो । हत्या गरिएका डिल्लीमाथि पेनड्राइभ, चाउचाउ र बिस्कुट चोरीको आरोप लागेको प्रहरी अनुसन्धानले देखाएको छ ।

हत्या गर्ने योजना बनाएर खोल्सातिर लगे
प्रहरीका अनुसार डिल्ली सोमबार बिहान ८ बजे घरबाट साइकल लिएर निस्किएका थिए । बाटोमा भेटिएका उनका स्थानीय नातेदार समेत पर्ने दुई किशोरले उनलाई ‘बेलौती (अम्बा) खान जाऔं’ भन्दै झण्डै ५० मिटर तल खोल्सातिर लगेका थिए । तर त्यो भ्रमपूर्ण निम्तो पछाडि सुनियोजित हिंसा लुकेको थियो ।

रिसइबीको आधारमा निर्मम कुटपिट र धारिलो हतियार प्रयोग
घटनास्थलमा पुगेपछि एक १९ वर्षीय किशोरले डिल्लीमाथि सामान चोरी गरेको आरोप लगाउँदै लात्तीले हिर्काए । डिल्ली ढलेपछि अर्को १३ वर्षे किशोरलाई पनि उनलाई आक्रमण गर्न उस्काइयो । प्रारम्भिक आक्रमण ढुंगाले सामान्य चोट पुर्‍ याउने खालको भए पनि, मुख्य आरोपीले तरकारी काट्ने धारिलो चक्कु प्रयोग गरेर डिल्लीमाथि अन्धाधुन्ध प्रहार गरे । प्रहरीका अनुसार डिल्लीको निधार र टाउकोमा गहिरा चोटहरू छन्, जसले उनको घटनास्थलमै मृत्यु भएको पुष्टि गर्छ ।

हत्या ढाकछोप गर्न बनाइयो दुर्घटनाको नाटक
हत्या पुष्टि भएपछि आरोपीले डिल्लीको साइकल खोल्सातिर फालेर दुर्घटना जस्तो देखाउने प्रयास गरे । साइकल शवभन्दा झण्डै १५ मिटर माथि भेटिएको छ । यद्यपि प्रहरीको सूक्ष्म अनुसन्धानले यो ‘सजाय टार्ने कसरत’ भएको प्रष्ट पारिदिएको छ ।

प्रारम्भिक अनुसन्धान र गिरफ्तारी
मंगलबार बिहान स्थानीयले खोल्सामा साइकल देखेपछि प्रहरीलाई खबर गरे । अनुसन्धानका क्रममा डिल्लीसँगै देखिएका दुई किशोर नियन्त्रणमा लिएपछि, १९ वर्षीय एक जनाले हत्या गरेको स्वीकार गरेका छन् । उनीहरूले योजनाबद्ध रूपमा डिल्लीलाई खोल्सामा लगेको, चोरीको झुठो आरोप लगाएर रिसइबीले हत्या गरेको बयान दिएका छन् ।

हत्या आरोपीको उमेर अझै अन्योल
हाल पक्राउ परेका किशोरले आफू १९ वर्षको भएको दाबी गरे पनि, नागरिकता नहुनाले उमेर पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उमेर नपुगेका हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नाम गोप्य राखिएको छ ।

समाज, शिक्षालय र परिवारप्रतिको प्रश्न
एकतर्फ १३ वर्षीय निष्कलंक बालकको ज्यान लिने घृणित कार्य, अर्कोतर्फ यस कार्यमा संलग्न हुने किशोरहरूको मानसिक अवस्था र सामाजिक पृष्ठभूमिप्रति गम्भीर प्रश्न उठेको छ । सामान्य चोरीको आरोपमा सुनियोजित हत्या हुनु आफैमा नेपाली समाजको बाल संरक्षण प्रणालीमाथि गहिरो चोट हो ।

थप अनुसन्धान जारी
डिल्लीको शव हाल जिल्ला अस्पताल सल्लेमा पोस्टमर्टमको प्रक्रियामा रहेको छ । प्रहरीले उनका अभिभावकलाई किटानी जाहेरीका लागि बोलाएको छ भने घटनासम्बन्धी थप अनुसन्धान जारी छ ।

राष्ट्रपति पौडेलले गरे नव कन्याको पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको नवौँ दिन नवकन्याहरूको पूजा गरेका छन् । बुधबार महानवमीको अवसर पारेर राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति पौडेलले नवकन्याहरूको पूजा गरेका हुन् ।

दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ । विजया दशमीको पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः २, ३, ४, ५, ६, ७, ८ र ९ वर्षकी कन्याको पूजा गर्ने प्रचलन छ । वै

दिक सनातन हिन्दू धर्मशास्त्रमा वर्णित विधिअनुसार हरेक दिन कन्याहरूको पूजा गर्नुपर्ने भनिए पनि सजिलोका लागि अहिले महानवमीको दिनमा एकै पटक नवकन्याहरूलाई नवदुर्गाको प्रतीक मानेर पूजा गर्ने चलन बढ्दै गएको छ । यसै क्रममा राष्ट्रपति पौडेलले आज महानवमीको दिन श्रीमतीका साथ शितलनिवासमा नवकन्याहरूको पूजा गरेका हुन् ।

 

यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

काठमाडौं । दसैँका अवसर पारेर तीन नेपाली चलचित्र प्रदर्शन भएका छन् । फूलपाती अर्थात् असोज १३ गतेदेखि चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन् ।

दसैँको बिदा भए पनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन् । चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा चलचित्र ‘बलिदान’ ले दुई दिनमा रु एक करोड पाँच लाख ६५ हजार व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क छ ।

उक्त चलचित्रले पहिलो दिन असोज १३ गते नेपालभर प्राप्त गरेको २४४ ‘शो’ बाट रु ५७ लाख १९ हजार ३४० र दोस्रो दिन दुई सय १३ शोबाट रु ४८ लाख ४६ हजारको व्यापार गरेको छ । सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गरेका छन् ।

यस्तै, अभिनेता हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गर्नुभएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले प्रदर्शनको दुई दिनमा रु ५९ लाख ५८ हजारको व्यापार (ग्रस कलेक्सन) गरेको छ ।

उक्त चलचित्रले असोज १३ गते १३४ शोबाट रु २४ लाख ८५ हजार ६४ र दोस्रो दिन रु ३४ लाख ७३ हजारको व्यापार (ग्रस कलेक्सन) गरेको छ। उक्त चलचित्रले पहिलो दिन र दोस्रो दिन समान ‘शो’ पाएको छ । दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।

अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेको चर्चित पात्र ‘हरिबहादुर’ लाई यसपटक चलचित्रमा ल्याएका हुन् । प्रदर्शनरत तेस्रो चलचित्र ‘माइतीघर’ ले प्रदर्शनको दुई दिनमा रु ३८ लाख ६३ हजारको व्यापार (ग्रस कलेक्सन) गरेको छ । उक्त चलचित्रले असोज १३ गते पहिलो दिन १४४ ‘शो’बाट रु १८ लाख ९६ हजार ४५५ र दोस्रो दिन १३० ‘शो’बाट रु १९ लाख ६७ हजारको व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क चलचत्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा छ ।

रोहित अधिकारीले निर्माण तथा मिलन तामाङले निर्देशन गर्नुभएको यस चलचित्रमा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत कलाकारले अभिनय गरेका छन् । पछिल्ला वर्षमा दसैँमा नेपाली चलचित्रको व्यापार राम्रो भएको पाइएको छ । सोही कारण यो दसैँमा तीन चलचित्रले प्रदर्शन मिति तय गरेका हुन् । बिदाको समयमा चलचित्रले राम्रो प्रतिक्रिया पाएमा त्यसको व्यापार बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन हुनेक्रम बढेको चलचित्रकर्मीको भनाइ छ ।

 

जीप दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–५ कालिमाटीबाट पोख्रातिर गइरहेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

आज बिहान कर्णाली प्रदेश ०२००१च१२५५ नम्बरको जिप पोख्रामा दुर्घटना हुँदा नलगाड नगरपालिका–५ बाट पोख्राका २२ वर्षीय निसान वलीको उपचार मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको उपचारका लागि अस्पताल लिँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरिक्षक (डिएसपी) वसन्त कुमार शर्माले जानकारी दिए ।

दुर्घटनामा सोही ठाउँका रविन्द्र वली, हिरालाल कुसारी र दिपेश वली घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई नेपालगञ्ज र एक जनालाई रुकुमपश्चिमको आठबिसकोट नगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

महिला नेतृत्वको सहकारीले बेच्यो ३५० वटा खसी–बोका

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका–४ झ्यालबासमा सञ्चालित महिला नेतृत्वको एक सहकारीमार्फत ३५० वटा खसीबोका बिक्री गरिएको छ ।

यहाँ सञ्चालित लेक–बेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैँको अवसरमा ती खसीबोका बिक्री गरेको हो । गाउँपालिकामा रहेका किसानहरूले उत्पादन गरेका खसीबोका सङ्कलन गरी घटस्थापनाको दिनदेखि बिक्री सुरु गरिएकामा हालसम्म ३५० खसीबोका बिक्री गरिएको सहकारी संस्थाको व्यवस्थापक सुशीला परियारले जानकारी दिइन् ।

‘असोज ६ गतेदेखि खसीबोका सङ्कलन र बिक्री सुरु गरेका थियौँ। हालसम्म ३५० वटा खसीबोका बिक्री गरेका छौँ’, उनले भनिन्, ‘प्रतिकिलो ज्युँदो सरदर रु ५७० सम्म बिक्री गरिएको छ ।’ संस्थामार्फत वर्षभरि नै खसीबोका सङ्कलन तथा बिक्री गरिने भए पनि चाडपर्वलाई लक्ष्य गरी बढी संख्यामा बिक्री भएको हो ।

‘गत वर्षको दसैँमा १५ सय खसीबोका बिक्री गरिएको थियो, त्यसबापत करिब रु दुई करोड ५० लाखको कारोबार भएको थियो’, परियारले भनिन्, ‘यस वर्ष भने पहिलेजति बिक्री भएन । दसैँपछि पनि बजारमा माग हुने हुँदा सोही अनुपातमा कारोबार हुने अनुमान गरेका छौँ ।’

गाउँमा उत्पादित खसीबोका बजारसम्म पुर्‍याउन सहकारीले ११ वर्षदेखि बजार व्यवस्थापन गरिरहेको छ । कृषकले भनेको समयमा बिक्री गर्न र उत्पादनअनुसार मूल्य नपाउने समस्या भएपछि सहकारीले सङ्कलन केन्द्रको स्थापना गरेर कृषिउपजको बजारीकरण गरिरहेको छ ।

यसरी सहकारीले घरबाट नै खरिद गरेर बजारीकरण गरिँदा आम्दानी र कारोबारमा सहज भएपछि स्थानीय कृषक खुसी भएका छन् । पहिले व्यापारीले भनेअनुसार बिक्री गर्ने बाध्यता रहेकामा केही वर्षदेखि सहकारीमार्फत बिक्री गर्दा बजारको चिन्ता नभएको र बजारमूल्य पनि पाएको कृषक शर्मिला विश्वकर्माले बताइन् ।

‘सहकारीले घरमै आएर खसीबोका जोखेर खरिद गर्ने हुँदा बिचौलियाबाट ठगिने समस्यासमेत हटेको छ’, उनले भनिन् । यहाँ सेयर सदस्य बाहेक अन्य कृषकको पनि खसीबोका खरिद गर्ने गरिएको छ । ठूला व्यापारीदेखि स्थानीयसम्म खसीबोका लिन सहकारीमा आउने गरेका छन्।

हुप्सेकोट गाउँपालिका क्षेत्रमा बाख्रापालक कृषकको संख्या उल्लेख्य रहेकाले यहाँबाट बर्सेनि सयौँ खसीबोका काठमाडौँ, पोखरालगायत सहरमा निर्यात गर्ने गरिएको छ । यहाँका बाख्रापालन गर्ने कतिपय महिलाले विदेश गएका श्रीमान्ले भन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चारको मृत्यु, तीन जना घाइते

सर्लाही । सर्लाहीमा दशैंमा घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी योगेन्द्रकुमार खड्काले दिएको जानकारीअनुसार आज (बुधबार) बिहान सवा ९ बजेतिर हरिपूर्वा नगरपालिका–१ स्थित हर्दीखोला किनारमा माटो निकाल्ने क्रममा माथिबाट खसेको ढिस्कोमा पुरिएर चार जनाको मृत्यु भएको हो ।

ढिस्कोले पुर्दा महोत्तरी जिल्ला सोनमा गाउँपालिका ६ मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ९ वर्षीया नर्गिस खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ६ वर्षीया सविवा खातुनको मृत्यु भएको एसपी खड्काले बताए ।

‘अरु तीन जना घाइते पनि भएको जानकारी प्राप्त भएको छ तर डिटेल आइसकेको छैन’, उनले भने । उनका अनुसार चारै जनाको शव अहिले प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । घटनास्थलमा प्रहरी पुगेर थप विवरण लिने काम गरिररहेको एसपी खड्काले बताए । घटनास्थल सर्लाही र महोत्तरीको सीमामा पर्छ ।

दशैंको मुखमा प्रधानाध्यापकले गरे श्रीमतीको हत्या

सुनसरी । सुनसरीमा एक महिलाको हत्या भएको छ । दशैंमा परिवारमा रमाइलो गर्दै बस्नु पर्ने बेला श्रीमती हत्याको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् ।

सुनसरी जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको इटहरी उपमहानगरपालिका–२०, खनारस्थित आफ्नै घरमा मंगलबार झगडाका क्रममा प्रधानाध्यापक सुमन दाहालले पत्नी अनिशा भट्टराईको हत्या गरेका हुन् ।

दाहाल खोटाङ जिल्ला ऐसेलुखर्क गाउँपालिका–१, राखाबाङ्देलस्थित रावाथुम प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन् । उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी केशवकुमार थेबेले जानकारी दिए ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट श्रीमान–श्रीमतीबीच विवादका क्रममा उक्त घटना भएको देखिएको छ । पतिको कुटाइबाट अनिशाको मृत्यु भएको प्रहरीले जनाएको छ । भट्टराई इटहरीमा बसेर शिक्षक सेवा आयोगको तयारी गरिरहेकी थिइन् ।

प्रहरीका अनुसार पोस्टमार्टमका लागि शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ । घटनाको पृष्ठभूमि र कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेताहरुको पासपोर्ट रोक्काप्रति कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले अन्तरिम सरकारलाई दण्डहीनतालाई प्रोत्साहन नगर्न र दलहरूमाथि प्रतिशोधपूर्ण राजनीति तत्काल रोक्न कडा चेतावनी दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार आफ्नो जिम्मेवारीभन्दा अलग बाटोमा हिँड्न खोजेको आरोप लगाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३ र २४ गतेका घटनाको छानबिन प्रारम्भ नहुँदै राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रही र प्रतिशोधपूर्ण ढंगले आयोगको हवाला दिँदै गैरकानूनी र गैरसंवैधानिक कार्यहरू गर्न लगाइएको देखिन्छ । सरकारको निर्देशनमै राहदानी रोक्का गर्ने, आवतजावतमा प्रतिबन्ध लगाउने जस्ता कदमहरू खुलेआम राजनीतिक प्रतिशोधको द्योतक हुन् ।’

कांग्रेसले जेन–जी पुस्ताले आह्वान गरेको शान्तिपूर्ण प्रदर्शनको आवरणमा अराजकता, आगजनी, तोडफोड र लुटपाट हुँदा मुलुकमा ठूलो क्षति भएको भन्दै गम्भीर आपत्ति जनाएको छ । पार्टीले घटनाबारे न्यायिक छानबिन आयोग गठन गरेको कदमलाई स्वागतयोग्य भने पनि त्यसकै नाममा दल विशेष र नेताहरूमाथि लक्षित प्रतिशोधी कारबाही स्वीकार्य नहुने चेतावनी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३ र २४ गतेको घटनामा सुरक्षाकर्मी सहित ७६ जनाभन्दा बढीको ज्यान गएको छ, सयौँ घाइते भएका छन्, राष्ट्रलाई खरबौँको क्षति भएको छ । यस्ता घटनाको जति निन्दा गरे पनि कम हुन्छ । तर सरकारद्वारा जारी विज्ञप्ति र गृह मन्त्रालयको परिपत्रले संविधान र विधिको शासन विपरित छ ।’

कांग्रेसले सप्रमाण भेटिएका अपराधीलाई उन्मुक्ति दिने, पीडितलाई अझ आतंकित गर्ने र राजनीतिक दललाई छानीछानी प्रतिशोधी निशाना बनाउने नीति जनताले कहिल्यै स्वीकार नगर्ने स्पष्ट चेतावनी दिएको छ । पार्टीले अन्तरिम सरकारलाई दण्डहीनतालाई प्रोत्साहन गर्ने र दलमाथि प्रतिशोधपूर्ण राजनीति गर्ने बाटो तत्काल छोड्न आग्रह गरेको छ ।

महानवमीका दिन पनि दुर्गा भवानीको ‘खोइँछ’ भरिँदै

महोत्तरी । मधेस प्रदेशको महोत्तरीसहितका जिल्लामा शारदीय नवरात्र (बडादसैँ) पर्वको अवसरमा देवी दुर्गाको ‘खोइँछ’ (पोल्टा) भरिँदैछ । फूलपातीका दिनको सन्ध्या आरतीसँगै देवीको ‘खोइँछ’ भर्नेक्रम सुरु भएको हो । आआफ्नो भाकलअनुसार शक्तिपिठ, मन्दिर र प्रतिमास्थलमा ‘खोइँछ’ भर्न श्रद्धालुको भीड लागिरहेको छ ।

आज नवरात्रको अन्तिम दिन महानवमीको दिन पनि देवीको ‘खोइँछ’ भर्न श्रद्धालु लामबद्ध छन् । यहाँ सोमबार महासप्तमीका दिन बनाइएका माटाका प्रतिमाको प्राणप्रतिष्ठा गरिएसँगै देवी दर्शनका लागि शक्तिपीठ खुला गरिएका छन् । दर्शन खुला गरिएसँगै फूलपातीका दिनको सन्ध्या आरती सकेर ‘खोइँछ’ भर्न थालिएको हो । योक्रम आज महानवमीको मध्यरातसम्म जारी रहनेछ । देवी दुर्गालाई विभिन्न समयमा गरिएको भाकलस्वरुप ‘खोइँछ’ भर्ने चलन बसेको मटिहानी–७ का बासिन्दा ९० वर्षीय प्रेस स्वतन्त्रता सेनानि विन्देश्वरीप्रसाद मण्डल बताउँछन् ।

मैथिल बोलीचालीमा दशहरा भनिने यो पर्वको सप्तमी तिथिमा देवी शक्तिपिठ, मन्दिर र नवस्थापित प्रतिमास्थलमा फूलपाती राखिएसँगै देवी कालरात्रिको पूजाआराधना गरिएपछि ‘खोइँछ’ भर्नेक्रम थालिन्छ । खासगरी विभिन्न समयमा गरिएका भाकलअनुसार देवीको सारीको अँचरा (पोल्टा) मा वस्त्रपरिधान, सौन्दर्य प्रशाधन, द्रव्य (सुन, चाँदीसहितका धातुबाट बनेका गहना), नरिवल, केरासहितका फलफूल र नगद भेटीसहित सामग्री चढाउने विधिलाई मिथिलामा ‘खोइँछ’ भर्ने भन्ने गरिन्छ ।

हाल महोत्तरीको औरही नगरपालिका–७ स्थित सोनामाई देवी शक्तिपिठ, बर्दिवास–४ माइस्थानस्थित पञ्चधुरा माई मन्दिर, बर्दिवास–१ र १४ स्थित दुर्गामन्दिर, जलेश्वरस्थित सन्सारीमाई र राजदेवी मन्दिरमा ‘खोइँछ’ भर्न भीड लागेको छ । ‘खोइँछ’ मा पुरुष सहभागी हुनसक्ने भए पनि यो विधिमा भने महिला बढी सहभागी हुने गरेका छन् । मिथिलामा दसैँको सप्तमीदेखि नवमी तिथिभरि ‘खोइँछ’ भरिने परम्परा छ । मटिहानीस्थित दुर्गा मन्दिरमा स्थापित जिल्लाका देवी प्रतिमामा नेपाली मात्र नभई सीमापारी भारतको मधुवनी जिल्लाका भक्तहरू प्नि ‘खोइँछ’ भर्न लामबद्ध छन् ।

‘खोइँछ’ भरिदा धनधान्य, आरोग्यतासहित इच्छित मनोकामना पूरा हुने मैथिल जनविश्वास रहेको सोनामाईस्थानका पुजारी कामेश्वर झा बताउँछन् । ‘खोइँछ’ भरिनेक्रमसँगै बडादसैंँ पर्वको महासप्तमी पर्वका दिनदेखि नै यी ठाउँ (देवीस्थल)मा बलि दिने क्रम सुरु भएको छ । फूलपाती विधि सम्पन्न भएसँगै सप्तमीकै दिन सुरु हुने बलि आज नवमीमा पनि जारी छ । जिल्लाको प्रसिद्ध सोनामाई देवी शक्तिपिठमा मधेशसका जिल्लाका साथै र छिमेकको भारतीय जिल्लाबाट हजारौँको संख्यामा भक्तजन दर्शन, पूजाआराधना र ‘खोइँछ’ भर्न पुगेका छन् । रासस

 

सडकको डिभाइडरमा स्कुटर ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

कैलाली । कैलालीको धनगढी उपमाहनगरपालिका–१३ राजपुरमा गए राति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित आरपी फ्लोर मिल नजिक अत्तरियातर्फ गइरहेको सु प प्र ०१०११ प ४४७३ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक बैतडीको पुर्चाैडी नगरपालिका–८ का २४ वर्षीय प्रान्जल बमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले स्कुटर अनियन्त्रित भएर सडकको ‘डिभाइडर’ मा ठोक्किएको थियो । घाइते भएका बमलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा स्कुटरमा सवार पुर्चाैडीकै २६ वर्षीय सरोज बम घाइते भएका छन् । उनको माया मेट्रो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मनकामना केबलकार तीन दिन बन्द गरिने

मुग्लिन । मनकामना केबलकार आजदेखि तीन दिन बन्द गरिने भएको छ । केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिए । असोज १८ गतेदेखि पुनः नियमित सेवा सञ्चालनमा आउने उनले बताए ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ । यो नेपालको पहिलो केबलकार हो ।

‘नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध छैन’

भरतपुर । बडादशैंको नवौं दिन आज नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ । दशैं सुरु भएसँगै पहिराका कारण पटक–पटक अवरुद्ध हुँदै आएको नारायणगढ मुग्लिन सडकमा आज भने निर्वाद रूपमा सवारीसाधन सञ्चालनमा छन् ।

हिजोअस्तीको तुलनामा सवारीसाधनको चाप कम रहेको र कुनै अवरोध नरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए । उनका अनुसार दशैं अवधिभर राजमार्गमा सुरक्षाकर्मी २४सै घण्टा खटिएको र यात्रुलाई कुनै पनि समस्या हुन नदिने गरी काम गरिरहेका छन् ।

मङ्गलबार साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको थियो। पहिरो पन्छाएसँगै ८ः४० बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको थियो । गएरातिसम्म सवारीसाधनको चाप रहे पनि हाल निकै कम रहेको प्रहरीले जनाएको छ। तुइन खोलामा पटक–पटक पहिरो खस्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।

सुनसान प्रायः छ काठमाडौँ

काठमाडौं । हाल काठमाडौँका सडक सुनसान प्रायः छन् । दसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आ–आफ्नो जन्मस्थान जान सुरु भएको थियो । हिजोआज दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्म कमी आएको जनाइएको छ ।

उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा देखिने यात्रुको भीड कम हुँदै गएको छ । वर्षभरि रोजगारी, अध्ययन, व्यापार तथा अन्य विभिन्न कारणले राजधानीमा रहेकाहरू दसैँका अवसरमा आआफ्नो गाउँ फर्किएका छन् । लामो समयपछि परिवारसँग पुनर्मिलनको आशा, आफ्नै गाउँको माटोको सुवास, चाडपर्वको स्वाद र बाल्यकालका सम्झनाले सबैलाई तानेको छ ।

सहरी भव्यता र व्यस्त जीवनशैलीबाट केही दिनका लागि टाढा हुँदै गाउँ फर्किने क्रमसँगै राजधानी सुनसान बन्दै गएको छ । ग्रामीण बस्ती भने जीवन्त र रमाइलो हुँदै गएका छन् । विगतमा निकै सवारी चाप हुने काठमाडौँका मुख्य सडकमा हाल सवारी चाप घटेको र उपत्यकामा दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्मको कमी आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीको भनाइले पनि यसलाई पुष्टि गर्छ ।

उनले भने, ‘दसैँका बेला धेरैजसो मानिस गाउँ फर्किसकेका छन्, त्यसैले सडक विगतमा भन्दा खाली भएका छन्, तर ट्राफिक सुरक्षाको दृष्टिले हामी अझै पनि उच्च सतर्कतामा छौँ ।’ गाउँघरमा भने दसैँको आगमनसँगै वातावरण उल्लासमय बन्न थालेको छ । घरआँगनमा टिका र जमरा छर्ने तयारी भइरहेको तथा आआफ्नो धर्म, परम्परा र संस्कारअनुसार चाडको स्वागत भइरहेका दृश्य तथा तस्बिर सामाजिक सञ्जालमा प्रशस्त मात्रामा देखिन थालेका छन् ।

परदेशी मन घर फर्किएसँगै वृद्ध बाबुआमा, दाजुभाइ, दिदीबहिनी तथा नातागोता सबैबीच पुनःभेटको भावनात्मक क्षणहरू साटासाट भइरहेका छन् । दसैँको रमाइलो केबल टीका र मीठा परिकारमा सीमित छैन, यो एकपटक फेरि परिवारसँग बिताउने, पुराना सम्झनालाई जीवन्त बनाउने र समाजमा मेलमिलाप र एकता बढाउने पर्व पनि भएकाले प्रायः गरी परदेशीएकाहरू गाउँघर फर्किने गर्दछन् ।

दसैँको चहलपहल सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँबाट गाउँ फर्किनेको भीड तीव्र रुपमा बढेको थियो । घटस्थापनादेखि मङ्गलबारसम्म आठ दिनको अवधिमा मात्रै पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

बढी भाडादर असुल्नेलाई तत्काल कारबाही गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले स्वीकृत एवं कानुनको प्रतिकूल हुने गरी निर्धारित भन्दा बढी भाडादर असुल्ने यातायात व्यसायीलाई तत्कालै कारबाही गरिने बताएका छन् ।

चाडबाडको मौका छोपी बढी भाडादर असुल्ने गरेको, टिकटको कालोबजारी गरेकोलगायतका गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले कानुन विपरीतका त्यस्ता क्रियाकलाप तत्काल बन्द गर्न आग्रह गरे।

हालको देशको विषम परिस्थितमा यातायात व्यवसायीलगायत सबै पक्ष जिम्मेवार बन्नु पर्नेमा यात्रुलाई अनावश्यक दुःख दिएर चाडबाडलाई कमाउने मौका रुपमा प्रयोग नगर्न, स्वीकृत भाडा दरभन्दा बढी असुल नगर्न र टिकटमा कालोबजारी नगर्न आग्रह गरे । यातायात व्यवसायीबाट त्यस्ता क्रियाकलाप गरेको पाइएमा तत्काल स्थानीय सुरक्षा निकाय र प्रशासनलाई खबर गर्न उनले आग्रह गरेका छन् ।

 

दशैं मेलामा ‘ग्याङ फाइट’, एक युवकको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा आयोजित दशैँ मेलामा दुई समूहबीच झडप हुँदा एक युवकको ज्यान गएको छ । मंगलबार राति भएको झडपमा घाइते भएका २० वर्षीय युवकको नारायणी अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । उनको नाम खुलिसकेको छैन ।

पर्सा प्रहरीका अनुसार मेलामा पसल राख्ने विषयलाई लिएर भएको विवाद झडपमा परिणत भएको थियो । गीता मन्दिर नजिक मेलाको सुरुवाती दिनमै दुई समूहबीच विवाद सुरु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार विवादको वास्तविक कारण अझै खुलेको छैन । नियन्त्रणमा लिइएकासँग सोधपुछ भइरहेको र घटनाबारे अनुसन्धान सुरु गरिएको उनले बताए । मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

तलेजु भवानी मन्दिर आज सबैका लागि खुल्ला, बिहानैदेखि दर्शनार्थीकाे घुइँचो

भक्तपुर । भक्तपुरको ऐतिहासिक एवं धार्मिक आस्थाको केन्द्र तलेजु भवानीको मन्दिर आज बिहानैबाट दर्शनका लागि खुल्ला गरिएको छ । हरेक वर्ष महानवमीको दिन मात्र यो मन्दिर सबैका लागि खुल्ला गरिन्छ । महानवमीका दिन तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण आज दिनभर यहाँ दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्दछ ।

सत्रौं शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने गरेको र जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी भन्ने धार्मिक किंवदन्ती रहेको छ । राजाले क्षमायाचना गरेपछि तलेजुले वर्षको एक पटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेक वर्ष महानवमीका दिन मन्दिरमा प्रकट हुने जनविश्वास छ ।

एक अर्को किंवदन्तीअनुसार उनै त्रिपाशा खेल्ने तलेजु भवानी बालिकाको शरीरभित्र कुमारीको रूपमा प्रवेश गरेको भन्ने गरिन्छ । त्यसै बेलादेखि भक्तपुरमा कुमारीलाई एकान्त कुमारीको रूपमा पुज्न थालिएको हो । कुमारी पुज्ने चलन सबैभन्दा पहिले भक्तपुरबाट सुरु भएर पछि काठमाडौँ र ललितपुरमा बिस्तार भएको भक्तपुर तलेजुका मुख्य नाइके नरेन्द्रप्रसाद जोशीले बताए । विजयादशमीको दिन बिहीबार जीवित देवी कुमारीको हातबाट टीका थाप्ने प्रचलन छ ।

राँगो दौडाउने जात्रा सम्पन्न
यस्तै, महाअष्टमीका दिन राति मनाइने ३२ लक्षणयुक्त निकुथु (निक्खर) राँगो दौडाउने जात्रा सम्पन्न भएको छ । महिषासुरको प्रतीक मानिने निक्खर राँगो जात्रा स्थानीय व्यासी टोलबाट दौडाउँदै यालाछें, बालाखु हुँदै दरबार स्क्वायरसम्म ल्याएर तलेजुमा पुर्‍याई कालरात्री पूजा गरिएको थियो ।

जात्राका क्रममा स्थानीयहरूले बाटोको दुवै छेउमा बसी सुकुन्दा बत्ती बालेर राँगोलाई पूजा गर्ने प्रचलन छ । जात्रा दरबार स्क्वायरमा पुगेपछि खड्ग लिएर बसेका पूजारीले राँगोलाई मूलचोक भित्र्याउन आदेश दिएसँगै तलेजुको मूलचोकमा पुर्‍याएर तलेजुमा कालरात्री मनाइएको तलेजुका मुख्य नाइके जोशीले जानकारी दिए ।

दसैँ महाअष्टमीको अवसरमा तलेजुमा ५४ बोका, ३२ राँगा र ३२ हाँस बलि दिएर कालरात्री मनाइएको उनले बताए । गुठी संस्थान कार्यालय अर्थात् सरकारको व्यवस्थापनमा वर्षौदेखि चल्दै आएको बलि दिने परम्पराअनुसार यस पटक पनि बलि पूजा गरिएको हो ।

 

ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । सडक सुरक्षा र शान्ति सुव्यवस्थाको जिम्मेवारीमा खटिएका प्रहरीलाई अपमानजनक शब्द प्रयोग गरेको आरोपमा सिन्धुली घर भई हाल काठमाडौं बबरमहल बसोबास गर्दै आएका ३६ वर्षीय नेवाङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार तामाङलाई बुद्धनगर क्षेत्रबाट पक्राउ गरिएको हो । कर्तव्य पालनामा तैनाथ प्रहरीलाई उनले अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए । उनीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनले सडकमा खटिएका प्रहरीमाथि अपशब्द बोलेको भिडियो भाइरल भएको थियो ।

फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा २२ जनाको मृत्यु

काठमाडौं । फिलिपिन्समा मंगलबार राति ६.९ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, करिब राति १० बजे सेबु प्रान्तको बोगो सहरको पालोम्पोन नजिकै केन्द्रविन्दु भएर उक्त भूकम्प गएको थियो ।

भूकम्पले मध्य फिलिपिन्स हल्लाएको थियो । भवनहरू भत्किएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, कम गहिराइमा केन्द्रविन्दु रहेको उक्त भूकम्प मंगलबार राति ९ः५० बजे टापुको उत्तरी छेउनजिक ९० हजार मानिसको बसोबास भएको सहर बोगोबाट केही पर गएको थियो ।

प्रहरीको २७ ‘क्विक रेस्पोन्स टिम’ : २४ सै घण्टा सेवा

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले दशैंलगायतका चाडपर्व लक्षित कडा सुरक्षा योजना सार्वजनिक गरेको छ । बडादशैंदेखि दीपावली तथा छठ पर्वसम्मका चाडपर्वलाई लक्षित गरी प्रहरी परिसर भक्तपुरले क्विक रेस्पोन्स टिम परिचालन गरेको हो ।

प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज रेग्मीले मुख्य बजार, चोक, संवेदनशिल क्षेत्र, मठमन्दिर, बैंक तथा वित्तीय सस्थाको सुरक्षाका लागि बेग्लै टोली र कुनै पनि घटनाको जानकारी प्राप्त भएको १० मिनेटमा प्रहरी पुग्ने गरी टोली परिचालन गरिएको जानकारी दिए ।

प्रहरील कुनै पनि सार्वजनिक स्थान, सार्वजनिक सवारी साधन, निजी आवास, व्यापारिकस्थल, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, आर्थिक कारोबार हुने स्थानहरुमा मानिसहरुको चहल पहल एवं आर्थिक कारोबार बढ्ने र त्यस्ता स्थलहरुमा चोरी, डकैती, लुटपाट, पाकेटमारा, सामाजिक सञ्जालमार्फत हुने विविध ठगी, अवैध रुपमा हुने मादक पदार्थ विक्री वितरण, सेवन गर्ने, झै–झगडा, लागु औषध, अपहरण, चन्दा असुली, फिरौती माग, मानव बेचबिखन तथा ओसारपसार, जुवातास लगायतका अपराधहरु नियन्त्रण गर्न युनिट बनाएर प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

वर्तमान परिस्थितिमा थप सुरक्षा चुनौती बढ्न गएको अवस्थालाई मध्यनजर गर्दै आम नागरिकहरुमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन २४सैं घण्टा जनस्तरसम्म सचेतना कार्यक्रम राखिएको उनको भनाइ छ । प्रहरी गस्ती, एम्बुसिङ, चेक प्वाइन्ट, पिकेट, सरप्राइज जाँचका लागि यस परिसर तथा मातहत प्रहरी इकाइमा उपलब्ध प्रहरी जनशक्ति तथा साधनस्रोतलाई उच्चतम प्रयोग एवं परिचालन गरी भरपर्दो तथा प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको जनाइएको छ ।

प्रहरीले आफ्नो घर, टोल, छिमेकमा शंकास्पद गतिविधि भएको पाइएमा वा कुनै घटना भएमा तत्काल प्रहरीको १००, १०३ र जिल्ला प्रहरी परिसर भक्तपुरको सम्पर्क नम्बर ०१–६६१४७०८, ९८५१२८३०२०, ९८५१२९०९७६ मा तत्काल खबर गर्न अनुरोध समेत गरेको छ ।

रोमानियाको होटलमा आगलागी, दुई नेपाली महिलाको मृत्यु

पोल्याण्ड । रोमानियाको एक होटलमा लागेको आगोमा परी दुई नेपाली महिलाको ज्यान गएको छ । रोमानियाको ‘होटल डाले’ मा हिजो भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको हो । उक्त होटल रोमानियाको राजधानी बुखारेष्टबाट लगभग ५२ किलोमिटरमा दूरीको प्रहोभा सहरमा पर्छ ।

आगलागीमा परेर २१ र २४ वर्षका राई तथा तामाङ थरका दुई नेपाली महिलाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको नाम खुलिसकेको छैन । मृत्यु भएका दुई नेपाली महिलाहरू सोहि होटलमा काम गर्ने भएको बताइएको छ ।

‘होटलको माथिल्लो तलामा सुतेको अबस्थामा दुई जनाको मृत्यु भएको हो । एक जनाको अस्पतालमा उपचार भइरहेको होटल बाहिर सुतेका अर्को एक जना सकुशल छन्’ आगलागीबाट घाइते भएका व्यक्तिलाई उदृत गर्दै नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्य ल्हाक्पातेन्जी लामा शेर्पाले जानकारी दिए ।

अग्नि सुरक्षासम्बन्धी अनियमितताका कारण उक्त होटल एक हप्ता अघि नै प्रशासनले बन्द गरेको बताइएको छ । रोमानियाका स्थानीय सञ्चार माध्यम र नेपाली समुदायबाट घटनाको जानकारी प्राप्त भएको र आवश्यक समन्वयका लागि पहल भइरहेको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ ।