`

कवाड व्यवसायीको जिउधन र पेशागत सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं । कवाड व्यवसायीहरूले कवाड मजदुरमाथि भइरहेको कुटपिट, अपहरण, ज्यादती तथा संरचना भत्काउने कार्य तत्काल रोक्न माग गरेका छन् । कवाड व्यवसायी संघर्ष समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो माग गरेको हो । समितिले काठमाडौं महानगरपालिकाले कवाड संकलन व्यवसायी, मजदुर तथा गरिब वर्गमाथि विगत दुई वर्षदेखि अन्यायपूर्ण दमन गरिरहेको आरोप समेत लगाएको छ । पत्रकार सम्मेलनमा बोल्दै कवाड व्यवसायी संघर्ष समितिका प्रतिनिधि ओमप्रकाश सिंहले कवाड व्यवसायीहरूले मुलुकमा सञ्चालित धातुजन्य उद्योगका लागि आवश्यक कच्चा पदार्थ आपूर्ति गर्दै आएको भएपनि काठमाडौं महानगरपालिकाले व्यवसायीमा अन्याय गरिरहेको बताए ।

उनले कवाड व्यवसायले देशको व्यापार घाटा घटाउन, राजश्व संकलन बढाउन र वातावरणीय सरसफाइमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको दाबी गरे । पत्रकार सम्मेलनमा उनले भने, ‘विभिन्न धातुजन्य उद्योगहरुको लागि आवश्यक कच्चा पदार्थ कवाड व्यवसायीहरुले आपूर्ति गर्दै आइरहेका छन् । देशको व्यापार घाटा कम गर्न तथा राजश्व संकलनमा समेत कवाड व्यवसायको ठूलो भूमिका रहेको छ । हाल यो व्यवसायमा एक लाखभन्दा बढी मानिस प्रत्यक्ष रुपमा आवद्ध रहेको कुरा यहाँहरुलाई अवगत गराउन चाहन्छौँ । वातावरणको सरसफाईमा समेत कवाड व्यवसायको योगदान रहेको छ ।’

उनले कवाड संकलन व्यवसायी र मजदुरमाथि कुटपिट गर्ने, संरचना भत्काउने, सामान जफत गर्ने, साइकल खोस्ने, अपहरण शैलीमा मान्छे लैजाने तथा मानसिक त्रास सिर्जना गर्ने कार्य तत्काल रोक्न काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराए । उनले संविधानले सुनिश्चित गरेको व्यवसाय गर्न पाउने अधिकारको ग्यारेन्टी गर्न, कवाड मजदुरमाथि भइरहेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्य तत्काल रोक्न तथा यसमा संलग्न काठमाडौं महानगर प्रहरी र जिम्मेवार व्यक्तिमाथि कानुनी कारबाही गर्न माग गरे ।

साथै कवाड संकलन मजदुरको जिउधनको सुरक्षा सुनिश्चित गर्न सरकारसँग तत्काल कदम चाल्न तथा विस्थापित कवाड व्यवसायीहरूको रोजगारी सुनिश्चित गर्न पनि माग गरे । सिंहले भने, ‘काठमाडौं महानगरपालिकाद्वारा विगत दुई वर्षदेखि कवाड संकलन व्यवसायी, मजदुर तथा गरिब आम वर्गमाथि अन्यायपूर्ण कार्य, शारिरिक कष्ट, संरचना भत्काउने, समान जफत गर्ने, अपहरण शैलीमा मान्छे लैजाने, साइकल लैजाने र मानसिक त्रास सिर्जना गर्ने कार्य निरन्तर भइरहेको छ। महानगरको यस्तो गतिविधिले संविधानले दिएको पेसा व्यवसाय गर्न पाउने मौलिक हक अधिकार हनन् भएको छ ।’

उनले थपे, ‘हाम्रा मागहरु संविधानले दिएको व्यवसाय गर्न पाउनुपर्ने अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड संकलन मजदुरमाथि भइरहेको कुटपिट, अपहरण, ज्यादति र संरचना भत्काउने जस्ता कार्यहरु तत्काल राक्नुपर्ने, साथै यस्ता कार्यमा सलंग्न काठमाडौं महानगर प्रहरी र जिम्मेवार व्यक्तिलाई कानुनी कारबाही गर्नुपर्ने, कवाड संकलनकर्ता मजदुरको जिउधनको सुरक्षा गर्न नेपाल सरकारले तत्काल कदम चाल्नुपर्ने, साथै सरकारले विस्थापित कवाड व्यवसायीहरुको रोजगारी सुनिश्चित गर्नु पर्दछ ।’ उनले काठमाडौं महानगरद्वारा पीडित बनाइएका फुटपाथ व्यवसायी तथा अन्य साना व्यवसायीहरुलाई समेत आफूहरुसँग सहकार्य गर्न आह्वान गरे। उनले सरकारले आफूहरूका मागहरु यथाशक्य सम्बोधन नगरे जेनजी पुस्तासँगको सहकार्यमा आन्दोलनका थप कार्यक्रमहरू अगाडि बढाउने चेतावनी समेत दिए ।

सुशीला कार्की सरकारको औचित्य सकियो, भोलिबाट आन्दोलनमा उत्रिन्छौं : मिराज ढुंगाना

काठमाडौं । जेन–जी अभियन्ता मिराज ढुंगानाले वर्तमान सरकारले जेन–जी आन्दोलनको नेतृत्व गर्न नसक्ने बताएका छन् । संयुक्त जेन–जी आन्दोलन घोषणा गर्दै उनले सर्वपक्षीय सरकार आजको आवश्यकता भएको बताए । उनले जेन–जी आन्दोलन निर्वाचनको लागि मात्रै नभएको बताए । तर सरकारले निर्वाचनको मात्रै रटान लगाइरहेको उनको आरोप छ । आन्दोलन व्यवस्था सुधार, सुशासन र राज्यको चरित्र रुपान्तरणको लागि भएको उनले बताए । उनले वर्तमान अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउने आंशका व्यक्त गरे । उनले निर्वाचन गराउनुलाई आन्दोलनको ठूलो उपलब्धि नठान्न सरकारलाई आग्रह गरे ।

उनले नेपालमा भएको समस्याको सही समाधान गर्न नसके देश बंगलादेशको स्थितिमा पुग्ने बताए । राज्यमा सुरक्षा, न्याय र भरोसा नभएको उनको भनाई छ । उनले सरकारले देशलाई राजनीतिक निकास दिने काम गर्न नसकेको पनि आरोप लगाए । उनले सुशासन जेन–जी आन्दोलनको मुख्य माग भए पनि भ्रष्टाचारको फाइल खोल्न नसकेको बताए । उनले प्रधानमन्त्रीले नै सार्वजनिक जग्गा मिचेको, गृहमन्त्रीले काकालाई नियुक्ति दिलाउन प्रहरीमा दरबन्दी थपेको, महान्यायधिवक्ताले छोरीलाई डिम्ब तस्करीमा उन्मुक्ति दिएको, प्रधानमन्त्रीको सचिवालाय नातावाद र कृपावादमा चलेको पनि आरोप लगाए ।

उनले भने, ‘यो आन्दोलन निर्वाचनको लागि मात्रै थिएन । आन्दोलन व्यवस्था सुधार, सुशासन र राज्यको चरित्र रुपान्तरणको लागि थियो । यही अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउँछ की ? निर्वाचन गराउनु आन्दोलनको ठूलो उपलब्धि नमानियोस् । आज बंगलादेशको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल छ, जहाँ एउटा व्यक्तिलाई मारेर चोकैमा झुण्ड्याएर जलाई दिएको छ । यदि नेपालमा पनि समस्याको सही र समयमा समाधान भएन भने देश अराजकताको दिशातर्फ धकेलिने खतरा स्पष्ट छ ।’

उनले भने, ‘आज राज्य भएको अनुभूति छैन । भरोसा छैन, सुरक्षा छैन, अपन्वत्व छैन । असुरक्षा बढ्दो छ, त्यसैले आजको आवश्यकता यस्तो राजनीतिक नेतृत्वको हो, जसले सबै पक्षलाई विश्वासमा लिनसक्छ, संवाद गर्नसक्छ । न्याय दिन सकोस् र देशलाई शान्ति र स्थायित्व दिन सकोस् । यही माग आन्दोलनको सार हो । सर्वपक्षीय सरकार आजको आवश्यकता हो । हामीले १०० दिन देख्यौ सरकारको, यसले हाम्रो आन्दोलनको मर्म बोक्दैन, यसले हाम्रो नेतृत्व गर्न सक्दैन ।’

उनले सोमवार माईतीघरबाट आन्दोलन थाल्ने पनि जानकारी दिए । आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने उनले जानकारी दिए । देशमा रोजगारीको व्यवस्था गर्नुपर्ने, शासकीय स्वरुपमा सुधार गर्नुपर्ने, विदेशमा रहेका नागरिकलाई मताधिकार दिनुपर्ने, शान्ति सुरक्षाको कायम गर्नुपर्ने, जेन–जी आन्दोलनमा संलग्नलाई धरपकड गर्न नहुने लगायतका माग राखेर आन्दोलन गर्न लागिएको उनले जानकारी दिए । उनले रोजगारी सिर्जना गर्न जेन–जी आन्दोलन भएको भए पनि वर्तमान सरकार जेन–जीहरुलाई विदेश पठाउन तल्लिन रहेको आरोप पनि लगाए ।

बालेनले बनाए खुला मञ्चलाई ‘चिटिक्क’, सर्वसाधरणका लागि सधैं खुला

काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पपछि लामो समय बन्द रहेको काठमाडौंको रत्नपार्कस्थित ऐतिहासिक खुलामञ्च आजबाट औपचारिक रूपमा सर्वसाधारणका लागि खुला गरिएको छ । विश्व ध्यान दिवसको अवसर पारेर काठमाडौँ महानगरपालिकाले ध्यान कार्यक्रम आयोजना गर्दै खुलामञ्च अब सधैँका लागि खुला रहने घोषणा गरेको हो।

भूकम्पका कारण क्षति पुगेपछि बन्द गरिएको खुलामञ्च करिब एक दशकभन्दा बढी समय विभिन्न प्रयोजनमा प्रयोग हुँदै आएको थियो । काठमाडौँ टावर निर्माण सुरु भएसँगै यहाँबाट सार्वजनिक यातायात सञ्चालन गरिएको थियो भने मञ्च र रत्नपार्कबीचको भाग कालोपत्रे गरेर वैकल्पिक बसपार्क समेत सञ्चालन गरिएको थियो । भूकम्पपछि क्षतिग्रस्त वीर अस्पताल र दरबार हाइस्कुलको पुनर्निर्माणका क्रममा निर्माण सामग्री भण्डारण, श्रमिक आवास तथा अस्थायी विद्यालय सञ्चालनका लागि पनि खुलामञ्च प्रयोग भयो । गत वर्षसम्म सार्वजनिक यातायातको पार्किङ र पुनर्निर्माण सामग्री राख्ने थलोका रूपमा प्रयोग भएपछि खुलामञ्च आफ्नो मौलिक पहिचानबाट टाढिएको थियो ।

यस अवस्थालाई अन्त्य गर्दै काठमाडौँ महानगरपालिकाले नेपाल सरकारको स्वामित्व रहेको पूर्वाधार निर्माण कम्पनीसँग सहकार्य गरी आफ्नै लगानीमा खुलामञ्चको पुनर्निर्माण अघि बढाएको हो । २३ हजार ४१५ वर्गमिटर क्षेत्रफलमा फैलिएको खुलामञ्चमध्ये करिब १४ हजार ६ सय वर्गमिटर क्षेत्रमा प्राकृतिक नेपाली दुबो रोपिएको छ । उबडखाबड जमिन मिलाएर मलिलो माटो हालिएपछि चौर अहिले हरियाली र आकर्षक बनेको छ । चौरको चारैतिर चार मिटर चौडाइको पैदल मार्ग निर्माण गरिएको छ । सहरका अन्य स्थानमा फुटपाथ स्तरोन्नतिका क्रममा निकालिएका हेक्जागोनल ब्लक पुनः प्रयोग गरेर पैदल मार्ग बनाइएको हो । यस पैदल मार्गमा २१ वटा बिजुलीका पोल जडान गरिएका छन्, जसमा डे–नाइट सेन्सरयुक्त बत्ती राखिएको छ । यी बत्ती दिनमा आफै निभ्ने र रातमा आफै बल्ने प्रणालीका छन् ।

खुलामञ्चको पश्चिमतर्फको मुख्यद्वारमा पार्किङको व्यवस्था गरिएको छ । गिटीमाथि स्टोन डस्ट राखेर बनाइएको यो स्थान आवश्यक परे भलिबल र ब्याडमिन्टनजस्ता खेलका लागि पनि प्रयोग गर्न सकिनेछ । पानी जम्न नदिने र भू–जल पुनर्भरणका लागि चौरका विभिन्न छ स्थानमा वाटर रिचार्ज पिटहरू निर्माण गरिएका छन् । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले सञ्चालन गरिरहेको खेलकुद पूर्वाधारको मर्मत, सम्भार, सुधार तथा स्तरोन्नति कार्यक्रमअन्तर्गत खुलामञ्च पुनर्निर्माण गरिएको हो । गत आर्थिक वर्षमा महानगरका सबै वडामा खेलकुद पूर्वाधार विकासका लागि विनियोजन गरिएको ६ करोड ९८ लाख ७० हजार रुपैयाँमध्ये करिब ९० लाख रुपैयाँ खर्च गरेर खुलामञ्चको काम सम्पन्न भएको मेयर बालेन्द्र शाह ‘बालेन’ ले जानकारी दिएका छन् ।

खुलामञ्च खुला नहुँदा विगत एक दशकयता राजधानीमा हुने ठूला राजनीतिक तथा सांस्कृतिक कार्यक्रमका लागि विकल्प खोज्नुपर्ने बाध्यता थियो । शान्तिबाटिका, दरबारमार्ग, टुँडिखेल र प्रदर्शनीमार्ग जस्ता स्थानमा सभा–समारोह हुँदा सवारी आवागमन र ट्राफिक व्यवस्थापनमा ठूलो असर पर्दै आएको थियो । विभिन्न राजनीतिक दलहरूले सडकको अग्रभागमै सभा गर्न थालेपछि राजधानीको मुटु क्षेत्र बारम्बार जामको सिकार बन्ने गरेको थियो ।

ऐतिहासिक रूपमा खुलामञ्च नेपालका विभिन्न राजनीतिक परिवर्तन र जनआन्दोलनको साक्षी स्थल हो । उत्पीडित र दबिएका आवाजहरू उठ्ने थलोका रूपमा परिचित यो स्थान पुनः आफ्नै स्वरूपमा फर्किनुले राजधानीको सौन्दर्य र सहरी जीवनमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ । अब खुलामञ्च बिहान शारीरिक अभ्यास गर्नेहरूका लागि खुला स्थान हुनेछ । बालबालिकाका लागि स्वतन्त्र खेल मैदान, पाका उमेरका नागरिकका लागि टहल्ने र आराम गर्ने ठाउँ, युवाहरूका लागि खेल र प्रशिक्षणको स्थल तथा सर्वसाधारणका लागि मर्निङ वाक र खुला चौरको रूपमा प्रयोग हुनेछ । दश वर्षको प्रतीक्षापछि खुलामञ्च पुनः राजधानीवासीको साझा आँगन बनेको छ ।

 

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म (कालीकोट) ।  नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि तीन जनाको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिले भूपेन्द्रजङ्ग शाही, अम्बबहादुर शाही र सीता रावलको नाम सिफारिस गरी प्रदेश कार्यसमितिलाई पठाइएको हो ।

प्रदेश कार्यसमितिले पनि जिल्लाबाट प्राप्त नामलाई केन्द्रमा पठाएको जिल्ला कार्यसमितिका सभापति अम्बबहादुर शाहीले बताएका छन् । उनका अनुसार समानुपातिकतर्फ कालीबहादुर सहकारी, सुशीला शाही बम, मनबहादुर नेपालीको नाम सिफारिस गरिएको छ । साथै राष्ट्रिय सभातर्फ टेकराज शाही र यशोधा शाहीलाई सिफारिस गरिएको छ ।

मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले गर्‍यो आन्दोलन घोषणा

काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेनजी संयुक्त आन्दोलनले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ । वर्तमान सरकारलाई जेनजी आन्दोलनप्रतिको धोका भन्दै मिराज समूहले सर्वपक्षीय सरकार गठनको माग गरेको हो । आज (आइतबार) काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी ढुंगाना समूहले वर्तमान सरकारको १०० दिनको कामले असफल भइसकेकाले सर्वपक्षीय सरकारको माग गर्दै भोलिदेखि आन्दोलन गर्ने घोषणा गरेको हो ।

‘जेनजी आन्दोलन कुनै व्यक्तिको ब्राण्ड र नेताको सिँढी होइन । आन्दोलनमाथि टेकेर कोही अग्लो हुने प्रयास नहोस्,’ उनले भने, ‘सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आन्दोलनको मर्म बोक्दैन, हाम्रो नेतृत्व गर्दैन । त्यसैले सर्वपक्षीय सरकार गठन होस् ।’ ढुंगानाले जेनजी आन्दोलनका एजेन्डा अलपत्र पारेर गरिने चुनावले निकास नदिने दावी गरे ।

‘आजको आवश्यकता त्यस्तो राजनीतिक नेतृत्व हो, जसले सबै पक्षलाई विश्वासमा लिन सक्छ र देशलाई निकास दिन सक्छ । सर्वपक्षीय सरकार आजको आवश्यकता हो ।’ सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आन्दोलनको मर्म बोक्न नसक्ने उनले बताए । ‘०८४ को चुनाव ०८२ मा सार्न आन्दोलन भएको थिएन । यो सरकारले निकास दिने काम गरेको देखिँदैन । सुशीला किन चुनावको रट लगाउनु हुन्छ ?’ ढुंगानाले भने ।

सभामुख घिमिरेसँग राजदूत सोङको बिदाइ भेट

काठमाडौँ ।  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले आज बिदाइ भेट गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तार लगायत विषयमा छलफल भएको थियो । सभामुख घिमिरेले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किन लागेका राजदूत सोङलाई धन्यवाद दिँदै नेपाल–चीन द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक विकासमा सहकार्य विस्तार तथा दुवै देशका संसद्हरूबीच सम्बन्ध मजबुत बनाउन उनले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरेका छन् ।

भेटमा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना मा भएको ७०औँ वार्षिकोत्सव वर्षभरि मनाइएको सन्दर्भ उल्लेख गर्दै सभामुख घिमिरेले सन् २०२५ मा दुवै पक्षबाट आयोजना गरिएका विविध कार्यक्रमले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याएको बताएका छन् । उनले नेपाल र चीन असल छिमेकी, घनिष्ट मित्र र भरपर्दो साझेदार रहँदै आएका बताउँदै शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, आपसी सम्मान, सहयोग र समझदारीका आधारमा सम्बन्ध अघि बढिरहेको स्पष्ट पारेका छन् । सभामुख घिमिरेले नेपाल एक–चीन सिद्धान्तप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पुनः दोहोर्‍याउँदै नेपाली भूमिमा चीनको हितविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

भेटमा चीनको नेतृत्व तहबाट नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भू–जडित मुलुकमा रूपान्तरण गर्ने दिशामा प्रदान हुँदै आएको सहयोगको सभामुखले प्रशंसा गरेका छन् । साथै नेपाल–चीन संसद्बीच प्रतिनिधिमण्डलको नियमित भ्रमण र संवादले द्विपक्षीय सम्बन्धलाई अझ फराकिलो र सुदृढ बनाएको उल्लेख गरेका छन् । सभामुख घिमिरेले चीन सरकारबाट प्राप्त हुँदै आएको विकास सहायताप्रति नेपाल आभारी रहेको बताउँदै ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआइ) सम्झौता अन्तर्गतका तथा अन्य विकास सहायता परियोजना यथाशीघ्र कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । राजदूत सोङले चीनले नेपाललाई कूटनीतिक सम्बन्धमा उच्च प्राथमिकता दिएको बताएका छन् । उनले आफ्नो कार्यकालमा सन् २०२० मा भएको चिनियाँ राष्ट्रपति सी जिनफिङको भ्रमणमा भएका सम्झौता कार्यान्वयनमा महत्वपूर्ण सफलता प्राप्त भएको उल्लेख गरेका छन् ।

राजदूत सोङले नेपाल र चीनबीच जनस्तरको सम्बन्ध उच्च भए पनि आर्थिक सम्बन्ध विकास हुन नसकेको बताएका छन् । उनले केही दिन अघि नेपाल–चीन आर्थिक सहकार्य र लगानीसम्बन्धी कार्यशाला भएको स्मरण गर्दै धेरै चिनियाँ व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेका जानकारी दिएका छन् ।

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर । दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप विवाद घटना छानबिन गर्न स्थानीय प्रशासनले समिति गठन गरेको छ । गत शुक्रबार कैदीबन्दी र नाइकेबीच कारागारभित्र विवाद हुँदा भएको झडपमा आठ कैदीबन्दी घाइते भएका थिए । घाइतेमध्ये दुई जना कारागार फर्किएका छन् भने छ जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार हुँदैछ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कारागारको घटनाको यथार्थ बझ्न सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए।

समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहरा र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य छन् । समितिलाई छानबिन गर्न सात दिनको समयावधि दिइएको प्रजिअ ढकालले जानकारी दिए । ‘आज पनि कारागारको अनुगमनमा जाँदैछौँ,’ उनले भने, ’घटनाको विस्तृत छानबिन समितिले प्रतिवेदनमार्फत पेस गर्ला ।’ नाइकेहरुले कारागारभित्र एकाधिकार गरेको आरोपसहित यहाँ कैदीबन्दी आन्दोलित भएका थिए । कैदीबन्दीले नाइकेहरुले आफूहरुले पाउने सेवा सुविधामा आर्थिक चलखेल गर्ने र कारागारभित्र अवैध गतिविधि गर्ने गरेको आरोप लगाएका छन् । –रासस

 

चिसोले बन्यो गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी ।  मङ्सिर भरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस लागेयता बढ्दै गएको जाडोले प्रभावित बनेको छ । पुस लागेसँगै ह्वात्तै बढेको चिसोले गरिब बस्ती बढी प्रभावित भएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पुस लागेसँगै बिहानदेखि नै मध्याह्नसम्म बाक्लो हुस्सुले ढाकेर चिसो बतास चल्न थालेसँगै गरिब बस्तीको बिजोग बढेको हो ।

यतातिर गत बुधबारदेखि नै मध्यान्हसम्म बाक्लो हुस्सुले ढाक्दै आएको छ, लगातारको चिसो बतासले काममा निस्कन सकिएको छैन’, जिल्लाको सुदूर दक्षिणपूर्वी भेगको मटिहानी–८ का ३० वर्षीय युवा इसरापूmल राइन भन्छन्र्, यसले जीवन गुजारामै सकस बढाएको छ।’ जिल्लाको दक्षिणी क्षेत्रमा लाग्दो पुससँगै हुस्सु बढे पनि सुदूर उत्तरी क्षेत्रमा भने गत शुक्रबारदेखि योक्रम बढेको हो । बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा गत बिहीबारसम्म झलमल्ल घाम लागको थियो ।

बिहीबारसम्म त कति राम्रो मौसम थियो, शुक्रबार एक्कासी डम्म हुस्सुले ढाक्यो, त्यसयता जाडो निकै बढ्यो’, गौशाला–१० बटौवा बस्तीका ७० वर्षीय लक्ष्मीप्रसाद कुशवाहा भन्छन्र्, यो बढ्दो चिसोले अब धेरै टिकिन्न कि जस्तो बनाइसक्यो ।’ मध्याह्नपछि हुस्सु फाट्दै गए पनि पारिलो घाम लाग्न नसक्दा र दिनभरि नै चिसो बतास चलिरहँदा जाडोले कुनै काममा निस्कन नसकेको उनको भनाइ छ ।

यो बढ्दो चिसोले गरिब बस्ती अत्यधिक प्रभावित भएका छन् । अहिले मुसहर, डोम, हलखोर, मेस्तरसहितका अति पिछडिएका गरिब जाति समुदायका बस्तीमा सडकमा फालिएका झुत्रा लुगा, प्लाष्टिक र झित्राझिक्री बालिने ‘घुर’ मात्र सहारा बनेको छ । लकडीकाठी (दाउरा) कहीँ पाइँदैन, कोही फर्केर हेर्ने आउँदैनन्, के गराँै? यही घुरको धुवाँ तापेर जाडो काट्नु परेको छ’, भङ्गाहा–४ रामनगरको मुसहरीटोलकी हेमनी सदा मुसहरले भने।

बिहानीपख लाग्ने हुस्सुले सडक यातायात र हवाई यातायात सेवा प्रभावित हुन थालेका छन् । बाक्लो हुस्सुकै कारण मध्याह्नअघिका हवाई सेवा धेरैजसो प्रभावित हुँदैछन् । मध्याह्नसम्म हुस्सु राम्ररी फाट्न नसक्दा विमान अवतरणमा समस्या हुने भएर बिहानी सेवा रोकिने गरेको जनकपुर विमानस्थल कार्यालयले जनाएको छ ।

यस्तै, एकाबिहानैको समयका सार्वजनिक सडक यातायातका साधनलाई पनि हुस्सु छिचोल्न नसक्दा ठाउँठाउँमा रोकिनुपरेको चालक बताउँछन् । बाक्लो हुस्सुसँगैको चिसो हावा बहने क्रमले बिहान बेलुका जाडो निकै छिप्पिएको छ । चिसो निकै बढेपछि खेतीपाती र बन्दव्यापारका काम ठप्प झैँ भएका छन् । मध्याह्नपछि झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि बाहिरफेरो निस्कन गारो बन्दै गएको छ । यसले बजारको चहलपहल देखिन छाडेको गौशाला–५ गौशाला बजारका व्यापारी अजय साह बताँउछन् ।

एक्कासी बदलिएको मौसमले व्यापार व्यवसायमात्र नभएर नियमित खेतीपातीका काममा बिहानैदेखि लाग्न नसकिएको किसान बताउँछन् । लाग्दो पुसमै यस्तो चिसो बढेपछि यहाँका बुढापाका अझ पछिका दिन कस्तो होला भन्दैछन् र्। अहिले नै जाडोले धर्मराएको छ, पुस अझै निकै बाँकी छ, १५ माघ नलागी पारिलो घाम देखिने छाँट छैन, खै कसरी दिन कट्ने हुन् ?’, भङ्गाहा–५ सीतापुर बजारमा बस्दै आएका ८५ वर्षीय हाजी विहारी अन्सारी भन्छन्र्, चिसोले उठ्न बस्न पनि नसकिने भइयो, दुःख पाइने छाँट छ ।’

बढ्दो जाडोले यस भेगका गरिब र दलित बस्ती बढी जोखिममा देखिन्छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्नुपर्ने श्रमिक बिहानको काममा जान पातलिएको छ । काममा जान नपाएपछि यो सोझै गुजारासँग जोडिने हुँदा गरिब बस्तीमा भोकभोकै बस्नपर्ने अवस्था पनि बन्दैछ । मुटु कमाउने जाडो छ, कसरी काममा निस्कने होला ?’, औरही–७ भोइलटिम्कियिाका ६० वर्षीय घुरन सदा भन्छन्र्, बनी गर्न ननिस्के मुखमा माड लाग्दैन, अब भोकभोकै पर्ने बेला आउने भयो ।’ जाडो सबैलाई उतिकै आए पनि आफुहरुको गरिबीले समारिन नसकिएर दुःख बढेको उनी बताउँछन् ।

चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी र स–साना नानीहरुको स्याहार, सम्भार कठिन भएको छ । घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घर वरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्तीहरु बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन् । यसैबीच, महोत्तरीका स्वास्थ्य संस्थाले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहार सम्भारमा ध्यान दिन आग्रह गरेका छन् । घरमा आफ्नै वरपर पाइने सागपात र गेडागुडीको झोल खान, बिहान बेलुका अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घर वरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाकोतर्फबाट सूचना जारी गरिएका छन् ।

यसबाहेक फोहर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर आगो नबाल्न आग्रह गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुवाँले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने स्वास्थ्य कार्यालय प्रमुख नवलकिशोर साह बताउँछन् ।

चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा बिहान बेलुका जाडो छल्ने उपायका लागि पहलकदमी लिन स्थानीय तहसँग सामाजिक सङ्घसंस्थाले आग्रह गरेका छन् । असहाय र गरिब बस्तीमा आगो ताप्ने दाउराको प्रबन्ध गरिनु पहिलो प्राथमिकता रहेको बर्दिबास हेल्प फाउण्डेसनका अध्यक्ष कुमार भण्डारीको भनाइ छ । यस कार्यमा स्थानीय तहले स्थानीय प्रशासनसँग समन्वय गरेर आवश्यक प्रबन्ध जुटाउनपर्ने भण्डारीको सुझाव छ ।

यससँगै गरिब बस्तीमा न्यानोको प्रबन्ध र खानपिनका कुरामा पनि सहयोग गर्न सकिनेगरी तयारी गरिन आवश्यक रहेको उनी बताउँछन् । यसैबीच, जिल्ला समन्वय समितिको कार्यालयले जिल्लाका १५ वटै स्थानीय तह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति यसपालि हुन नदिन पूर्वसतर्कता र आवश्यक तयारीका लागि आग्रह गरेको छ ।

अब चिसोले प्रभाव बढाउँदै लग्यो, यस अनुरुप हाम्रो तयारी आवश्यक छ’, जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लाल कर्ण भन्छन्र्, समयमै गरिने पूर्वतयारीले क्षति रोक्न सकिन्छ ।’ यसको पहलकदमी स्थानीय तह र जिल्लास्थित विपद् व्यवस्थापन समितिले थाल्नुपर्ने उनको भनाइ छ ।

सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्न : तोकिएकै मितिमा निर्वाचन हुन्छ ?

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले सरकारको सय दिनको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार सिंहदरवारमा बसेको संघीय संसद, राष्ट्रिय सभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको संयुक्त बैठकमा बोल्दै सांसदहरुले तोकिएकै समयमा निर्वाचन हुन्छ कि हुँदैन ? भनि सरकारलाई प्रश्न समेत गरे । एमालेकी सांसद सुमित्रा विसीले निर्वाचनमा समयमा हुन्छ कि हुँदैन ? भनि सरकारलाई प्रश्न गरिन् । उनले सरकारले संसदको सेवा, सुविधा कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन समेत माग गरिन् ।

सांसद विसीले भनिन्, ‘सरकारको सय दिन पूरा भइसक्यो । प्रधानमन्त्रीको अभिव्यक्तिअनुसार ५ दिनभित्र भ्रष्टाचार नियन्त्रण गर्छौं भन्ने कुरा थियो । त्यसका लागि के–के गरेको छ ? आउने दिनमा चुनाव बेलामा हुन्छ कि हुँदैन ? यसको बारेमा मन्त्रीजीले प्रष्ट पारि दिनुहोला भन्न चाहन्छु म । हाम्रा स्वकीय सचिवहरुलाई हटाउनुपर्ने बाध्यता अथवा त्यो हटाएर के कति विकास गर्नु भयो ? म यसको पनि जानकारी लिन चाहन्छु । योजनाहरु पनि बजेट कटौति गर्ने, रोक्का गर्ने । यस्ता कामहरु सच्याउन हुनेछ कानूनमन्त्रीले भन्ने मलाई विश्वास छ ।’

नेपाली कांग्रेसकी सांसद विष्णुदेवी पुडासैनीले स्थानीय तहमा जनताको सेवाको कामलाई सहज बनाउने गरी कानून निर्माण गर्न सरकारलाई सचेत गराइन् । उनले सार्वजनिक खरिदसम्बन्धि सरकारको आदेशले स्थानीय तहमा काम गर्न अप्ठयारो परेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद पुडासैनीले भनिन्, ‘कानूनको कमजोरीले धेरै कुराहरु अप्ठयारो परिरहेको छ । स्थानीय तहमा कानूनको कमजोरीले कामै हुन नसकिरहेको अवस्था छ । त्यसकारण स्थानीय तहको कामलाई पनि सहज हुनेगरी कानून बनाइ दिनुप¥यो । सार्वजनिक खरिद ऐन सम्बन्धि आदेश स्थानीय जनताको काम हुने गरी संशोधन हुनुपर्दछ भन्ने कुरा हो ।’

यता, सरकारले विधायन ऐन कार्यान्वयनमा ध्यान नदिएको भन्दै आपत्ति समेत जनाइएको छ । नेपाली कम्युनिष्ट पार्टीका सांसद डा. वेदुराम भुसालले विधायन ऐन कार्यान्वयन गर्ने काममा सरकार लागि नपरेको भन्दै आक्रोश व्यक्त गरे । उनले विधेयकको निर्माणमा गम्भिर हुन पनि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद भुसालले भने, ‘मन्त्रालयको विधायन ऐन कार्यान्वयमा तदारुपता देखिएन । यो विधायन ऐन लागु भईसकेपछि पनि हामीले हेरेका छौ । यसको पालना कहिल्यै पनि भएको छैन । यो विधायन ऐनलाई अनुशरण गरेको पाइँदैन । त्यसमा म मन्त्रालयको गम्भिरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु। विधेयकको निर्माणमा अनिवार्य कानून मन्त्रालयको सहमति चाहिन्छ । अरु विषय त सम्बन्धित मन्त्रालयले हेर्छ । विधायन ऐनको मस्यौदा बनाउने जिम्मेवारी कानून मन्त्रालयको हो । तर भएन । त्यसमा सुधार हुनुपर्छ भन्ने हो ।’ सांसदहरुले सरकारले अत्यावश्यक कानून निर्माण समेत चासो नदिएको आरोप समेत लगाए ।

बागमती नदीमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ‘ट्रास बेरियर’

काठमाडाैं । शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ‘ट्रास बेरियर’ जडान गरेको छ । हाल गुह्वेश्वरीवाट ट्रास बेरियर जडान सम्पन्न गरी बागमती नदीका ५ स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्वेश्वरी, तिलगंगा आँखा अस्पताल, बागमती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा १ स्थान गरी जम्मा ६ स्थानहरुमा रु ६५ लाखमा ठेक्का सम्झौता भई ट्रास बेरियर राख्ने काम धमाधम हुँदैछ ।

ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरूलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्दछ । काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोला जस्ता नदीहरूमा शहरीकरण, अव्यवस्थित फोहोर व्यवस्थापन कारण ठूलो मात्रामा तैरिने फोहोर बग्ने गरेको पाईएको हुँदा यस्ता नदीहरूमा ट्रास बेरियर जडान गर्दा नदीको बहावलाई अवरुद्ध नगरी फोहोर मात्र निकाल्न सकिन्छ । जसले गर्दा नदी प्रदूषण न्यूनीकरण गर्न सहयोग पुग्दछ ।

ट्रास बेरियरबाट संकलित फोहोरलाई नियमित रूपमा निकालेर वर्र्गीकरण, पुनः प्रयोग तथा सुरक्षित रूपमा व्यवस्थापन गर्न समेत सकिन्छ । यसले नदी प्रदूषण न्यूनीकरण गर्नुका साथै नदीको सौन्दर्य, जलजीवको संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पुग्ने देखिन्छ । नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरूलाई नदीको बहावलाई अवरुद्ध नगरी रोक्ने र पानीको सतह घटबढसँगै ट्रास बैरियरको सतह आफै तलमाथि हुने ढंगले रबरको कन्भेयर बेल्ट र तैरिने भाग सहितको संरचना जडान हुनेछन् ।

 

राजनीतिमा एक्लिँदै गएकी हुन् सुमना ?

काठमाडौं । विगतमा ‘युवा आइकन’ भनेर चिनिएकी सुमना श्रेष्ठ अहिले नेपाली राजनीतिमा किनारातिर धकेलिँदै गएको चर्चा चुलिँदो छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र रहँदा संसदका धारिला प्रस्तुति, छोटो समयको शिक्षामन्त्री पद र सामाजिक मुद्दामा सक्रियताका कारण लोकप्रिय बनेकी उनी जेनजी आन्दोलनपछि पार्टी छाडेपछि भने क्रमशः एक्लिँदै गएकी देखिन्छिन् ।

रास्वपा छोड्ने विषय लामो समयदेखि चर्चामा थियो । अन्ततः जेनजी आन्दोलनको पाँच दिनपछि, भदौ २९ गते उनले पार्टी परित्याग गरिन् । रवि लामिछानेसँगको दूरी र प्रधानमन्त्री सुशीला कार्कीसँगको निकटताले उनको राजनीतिक यात्रा नयाँ मोड लिने अपेक्षा गरिएको थियो । तर दलविहीन अवस्थासँगै अहिले उनी राजनीतिक रूपमा पनि अलग्गिएको विश्लेषण हुन थालेको छ ।

रास्वपामा रहँदै गर्दा नै काठमाडौँ महानगरका मेयर बालेन्द्र साह र पूर्व प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङसँग उनको निकटता बढेको चर्चा थियो । उनीहरूको सहकार्यमा नयाँ राजनीतिक दल गठन हुने, जेनजी आन्दोलनका केही अगुवालाई समेत समेट्ने तयारी भएको दाबी गरिन्थ्यो । तर नाम, नेतृत्व र चुनाव चिह्नमै सहमति नजुट्दा त्यो योजना अघि बढ्न सकेन । कुलमान घिसिङको नेतृत्वमा बनेको उज्यालो नेपाल पार्टीमा सुमना समेटिन नसक्नुले उनी अपेक्षित राजनीतिक प्लेटफर्मबाट बाहिरिएको देखियो ।

यससँगै प्रधानमन्त्री सुशीला कार्कीसँगको सम्बन्ध पनि सहज रहेन भन्ने चर्चा बाहिर आयो । प्रधानमन्त्रीको जानकारी बिनै सचिवालयमा आफ्ना निकटका व्यक्तिहरू समेट्न खोजिएको आरोपपछि बालुवाटारले उनको पहुँच सीमित गरेको बताइन्छ । सुरुमा ठूलो टोलीको वकालत गरेकी सुमनाको चाहना विपरीत प्रधानमन्त्रीले सानो र छरितो सचिवालय बनाएपछि दूरी बढेको विश्लेषण छ । त्यसयता उनले जेनजी आन्दोलनमार्फत सरकारको आलोचना गरेको आरोप समेत लागेको छ ।

जेनजी आन्दोलनभित्र पनि सुमनाप्रति विश्वास घट्दै गएको भनाइ सुनिन्छ । विभिन्न समूहलाई आफ्नाअनुकूल प्रयोग गर्न खोजेको आरोप र १० बुँदे सम्झौताको दिन उनको भूमिकामाथि उठेका प्रश्नहरूले उनी थप विवादमा परिन् । यसबीच, जेनजीका अर्का अगुवा सुदन गुरुङ प्रधानमन्त्रीसँग औपचारिक सेड्युलमार्फत मात्र भेट्ने अवस्थामा पुगेका छन्, जसले समग्र आन्दोलनकै प्रभाव कमजोर हुँदै गएको संकेत गर्छ ।

यद्यपि, सुमना श्रेष्ठको व्यक्तिगत पृष्ठभूमि भने अझै प्रभावशाली मानिन्छ । अमेरिकाको एमआइटी स्लोन स्कुल अफ म्यानेजमेन्टबाट एमबीए गरेकी उनले ब्रिन मार कलेज र ह्याभरफर्ड कलेजबाट अर्थशास्त्र र गणितमा स्नातक गरेकी हुन् । बोस्टन कन्सल्टिङ ग्रुप र सिटी ग्रुपमा काम गरिसकेकी उनी २०७२ सालको महाभूकम्पपछि नेपाल फर्किइन् र यहीं सक्रिय रहिन् । भूकम्पपछिको राहत तथा पुनर्निर्माण, काष्ठमण्डप पुनर्निर्माण, रानीपोखरी संरक्षणदेखि कोभिड–१९ महामारीका बेला खोपका लागि अन्तर्राष्ट्रिय पहलसम्म उनी सामाजिक अभियानमा अग्रपंक्तिमा देखिइन् ।

कारपुल काठमाडौँ र मेडिकेसन फर नेपाल जस्ता परियोजनामार्फत उनले नागरिक समस्यामा नविन समाधान खोजिन् । उद्यमीका रूपमा पनि उनले विभिन्न व्यवसाय स्थापना गर्दै रोजगारी सिर्जना गर्ने प्रयास गरिन् । प्रविधि, अर्थशास्त्र र व्यवस्थापनमा दख्खल राख्ने नेतृका रूपमा सुरुवाती चरणमा उनीसँग धेरै अपेक्षा जोडिएका थिए । तर अहिले पार्टी, आन्दोलन र सत्ता–सबैतिरबाट दूरी बढ्दै जाँदा सुमना श्रेष्ठको राजनीतिक भविष्य कुन दिशामा मोडिन्छ भन्ने प्रश्न उठ्न थालेको छ । उनको अनुभव, शिक्षा र सक्रियताको जगमा पुनः संगठित भएर अघि बढ्ने कि राजनीतिबाट क्रमशः ओझेलमा पर्ने भन्ने निर्णय अब उनको आगामी कदमले निर्धारण गर्ने देखिन्छ ।

 

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्ग

काठमाडौँ ।  गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास गरिने भएको छ । नयाँ अन्वेषण गरिएको पदमार्गले गोरखाको बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका र लमजुङ जिल्लाको दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकालाई समेट्ने जनाइएको छ ।

पदमार्ग विकास कार्ययोजनाको तयारीका लागि गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकमा आयोजना गरिएको क्षमता अभिवृद्धि तालिमको आज समापन भएको छ । नयाँ अन्वेषण गरिएको पदमार्गको विकास, प्रवद्र्धन र व्यवस्थापनका लागि सरोकारवालाको क्षमता सुदृढ गर्ने उद्देश्यले आयोजित तीनदिने तालिममा पाँचवटै पालिकाका उपाध्यक्षहरूसहित पर्यटन उद्यमीहरू, सामुदायिक वन उपभोक्ता समूह, पशुधन उद्यमीहरू, सांस्कृतिक समूहका सदस्यहरू गरी कूल २५ जनाको सहभागिता रहेको थियो ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रमको दिगो पर्यटन परियोजनाको सहयोगमा आयोजित सो कार्यक्रममा पदमार्गमा आधारित पर्यटन विकास, प्रवद्र्धन र व्यवस्थापनका बारेमा छलफल भएको थियो । तालिम समापनका अवसरमा पाँच वर्षे पदमार्ग विकास, प्रवर्द्धन र व्यवस्थापन कार्ययोजना तयार गरी प्रस्तुत गरिनुका साथै २१ सदस्यीय बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किट पदमार्ग विकास, प्रवर्द्धन र व्यवस्थापन समिति गठन गरिएको छ । समितिको नेतृत्व हरेक गाउँपालिकाका उपाध्यक्षले आलोपालोका आधारमा गर्छन् भने अन्य चार पालिकाका उपाध्यक्ष, पर्यटन उद्यमीहरुसहित २० जना सदस्य रहनेछन् ।

तालिममा समापनका अवसरमा नेपाल टे«किङ एजेन्सिस एशोसिएशनका अध्यक्ष सागर पाण्डे र पाँचै गाउँपालिकाका अध्यक्षहरू, बारपाक सुलिकोट गाउँपालिकाका विष्णु भट्ट, अजिरकोट गाउँपालिकाका दीपक देवकोटा, दूधपोखरी गाउँपालिकाका धनप्रसाद, दोर्दी गाउँपालिकाका युवराज अधिकारी र मस्र्याङ्दी गाउँपालिकाका अर्जुन गुरुङले नयाँ पदमार्गको सम्भावनाका बारेमा बोलेका थिए । तालिमलाई प्राविधिक स्रोत व्यक्ति डा. चेतनाथ कनेल र इञ्जिनियर कृष्ण गौतमले सहजीकरण गरेका थिए भने संयोजन टानका अम्बिर बड्र गुरुङ, युवराज लामा र सुश्री पवित्रा तामाङले गरेका थिए ।

विधेयक निर्माणमा सक्रिय सरकार, यसरी तयार हुँदैछ १२१ वटा मस्यौदा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले विधायन ऐन कार्यन्वयनमा सरकार सक्रिय रहेको बताएका छन् । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा उनले यस्तो बताएका हुन् । मन्त्री सिन्हाले विधायन ऐन जारी भएपश्चात जारी भएका ऐन र अध्यादेशको अभिलेख मन्त्रालयमा राखी राष्ट्रिय अभिलेखालयमा राखी पत्र पठाउने कार्यको प्रारम्भ गरिएको जानकारी दिए ।

विधायन ऐनअनुसार प्रत्यायोजित विधायनहरु राजपत्रमा प्रकाशित गर्ने, सरोकारवालाहरुको छलफलको लागी मन्त्रालयको वेबसाईटमा प्रकाशित गर्ने लगायतका काम गरिरहेको पनि जानकारी दिए । विधायन ऐन जारी हुनुपूर्वको अधिकार प्रयोग गरी भएका प्रत्यायोजित विधायनका हकमा ऐन जारी भएको १ वर्षभित्र दर्ता गर्नुपर्ने बाध्यात्मक व्यवस्थाअनुसार मन्त्रालयले दर्ता प्रक्रियाको कार्य थालनी गरेको उनले जानकारी दिए ।

उनकाअनुसार हालसम्म नियमावली ८ वटा, निर्देशिका ६ वटा, कार्यविधि ३४ वटा र विनियमावली ५ वटा दर्ता दर्ता हुन आएका छन् । उनले आवश्यक विधेयकको मस्यौदा निर्माण गर्न समेत सरकार लागेको जानकारी दिए । उनकाअनुसार चालु आर्थिक वर्षमा १ सय २१ वटा विधेयकहरु संसदमा पेश गरिने छन् । उक्त विधेयकको प्राथमिकिरण गरी सम्बन्धित मन्त्रालयमा मस्यौदा तयार गर्नको लागि पठाइएको पनि उनले जानकारी दिए । सरकारले नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना क्षेत्रगत नीति तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौताद्वारा सिर्जित दायित्व समेतका आधारमा १ सय २१ वटा नयाँ कानून बनाउने लक्ष्य लिएको उनको भनाई छ ।

उनले भने, ‘विधायन ऐन जारी भएपश्चात जारी भएका ऐन र अध्यादेशको अभिलेख मन्त्रालयमा राखी राष्ट्रिय अभिलेखालयमा राखी पत्र पठाउने कार्यको प्रारम्भ गरिएको छ । ऐन जारीभएपश्चात जारी भएका ५ वटा ऐन र अध्यादेशको अभिलेख राष्ट्रिय अभिलेखालयमा पठाईसकेको छ । विधायन ऐन जारी भएपश्चात जारी भएका नेपाल राजपत्रमा प्रकाशित हुने प्रत्यायोजित विधायनको हकमा सोही बखत र अन्य प्रत्योजित विधायनको हकमा स्वीकृत भई मन्त्रालयमा प्राप्त भएपश्चात दर्ता गरी एकप्रति मन्त्रालयको अभिलेख र एक प्रति मन्त्रालय वा निकायमा पठाउने व्यवस्था गरिएको छ ।’

उनले भने, ‘विधायन ऐन जारी हुनुपुर्वको ऐन पूर्व ऐनको अधिकार प्रयोग गरी भएका पत्यायोजित विधायनका हकमा ऐन जारी भएको १ वर्षभित्र दर्ता गर्नुपर्ने बाध्यात्मक व्यवस्थाअनुसार दर्ता प्रक्रियाको लागी कागजात प्राप्त हुन आएको प्रत्योजित विधायनहरु मन्त्रालयमा दर्ता गर्ने कार्य प्रारम्भ गरिसकिएको छ । हालसम्म नियमावली ८ वटा, निर्देशिका ६ वटा, कार्यविधि ३४ वटा र विनियमावली ५ वटा दर्ता गरी नेपाल सरकारको निति र कार्यक्रम, बजेट, आवधिक योजना, क्षेत्रगत तथा अन्तराष्ट्रिय सन्धि सम्झौताद्वारा सिञ्चित दायित्वको समेत आधारमा सम्बन्धित मन्त्रालयले तर्जुमा गरेको विधेयक पहिचान गरी विधेयको प्राथमिकरणको लागी कानून मन्त्रालयमा पठाइएको विधेयकहरुमध्ये सम्बन्धित मन्त्रालयसँगको छलफलका आधारमा आर्थिक वर्ष २०८२÷०८३ मा संघिय संसदसमक्ष पेश गरिने १२१ विधेयकमध्ये प्राथमिकिरण निर्धारण गरि सो को सूचि पेश गरिसकेको अवस्था छ ।’

प्रत्यायोजित विधायन स्वीकृत गर्ने निकायबाट प्रमाणीकरण भई प्राप्त भएको मितिले सात दिनभित्र सम्बन्धित मन्त्रालय वा निकायले कानून मन्त्रालयमा दर्ता गर्न पठाउनुपर्ने व्यवस्था अनुरुप कार्यान्वयनका लागि सम्बन्धित मन्त्रलायमा पत्र पठाइसकेको पनि उनले जानकारी दिए । मन्त्रालयमा तर्जुमा विधेयक हुँदाका बखत नै पत्यायोजित विधायनका मस्यौदा समेत पठाउने व्यवस्था कार्यन्वयन गरेको उनले जानकारी दिए । बैठकमा विधायन ऐन, २०८१ को कार्यनयनको सन्दर्भमा छलफल भएको छ । यो ऐन, २०८१ साल चैत ३ गते जारी भएको थियो । जसले ऐन जारी भएको मितिले एक वर्षभित्र प्रत्यायोजित विधायनहरु (नियमावली, विनियमावली, निर्देशिका आदि) राजपत्रमा प्रकाशित गर्नुपर्ने व्यवस्था गरेको छ ।

 

प्रधानमन्त्रीको प्रस्ताव : सरकारी कर्मचारीले हप्तामा एक दिन मौलिक पोशाक लगाउने कि ?

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन् । संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भए पनि आफ्नो मौलिक परम्परा र वेशभूषा भने छाड्न नहुनेमा जोड दिएकी हुन् । तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले उक्त कुरा बताएकी हुन् । परिषद्का प्रतिनिधिहरु गुरुङ संस्कृतिअनुरुपका परम्परागत वेशभूषामा उपस्थित भएका थिए । उनीहरुको वेशभूषाको प्रशंसा गर्दै प्रधानमन्त्रीले सरकारी कार्यालयमा पनि हप्तामा एक दिन भए पनि कर्मचारीहरुले आफ्नो परम्परागत पोशाक लगाउँदा उचित हुने धारणा व्यक्त गरे ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार ‘कतिपय समाज अहिले आफ्नो पहिचानको खोजीमा छन् । आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्संदै गएको पाइन्छ । आफ्नो पहिचान नै के हो भन्ने उनीहरुलाई थाहा छैन । तर हामी नेपालीसँग प्रशस्त आफ्नोपन छ । विविध मौलिक संस्कृति र परम्परा छ। यो जोगाउनु पर्छ । बरु सरकारी कार्यालयमा हप्तामा एक वा दुई दिन यस्तो पोशाक लगाउने व्यवस्था गर्ने विषयमा पनि सोच्नुपर्ने हो कि ?’, प्रधानमन्त्री कार्कीले भने । त्यसअवसरमा परिषद्का महासचिव राजु गुरुङले प्रधानमन्त्रीलाई यही पुस १५ गते आयोजना हुने तमु ल्होसारसम्बन्धी विशेष कार्यक्रमा सहभागी हुन आमन्त्रण गरे ।

अब ओडारमा रात बिताउनु पर्दैन सोवाङधुरी पुग्ने पर्यटकले

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि ओढारमा रात कटाउनु पर्ने अवस्थाको अन्त्य भएको छ । चिमखोलाका तारा गर्बुजा पुन, लोकिन पुन, गोपिन पुन र हिरे पुनले काठ तथा जस्तापाटाको प्रयोग गरेर समुन्द्री सतहदेखि तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङधुरीमा आश्रयस्थल भवन निर्माण गरेका हुन् । सोवाङ धुरी घुम्न जाने पर्यटक र पाहुनालाई ओढारमा रात काट्नुपर्ने अवस्थाको अन्त्य गराउनका लागि २० जना क्षमताको आश्रयस्थल निर्माण गरिएको गर्बुजाले बताए ।
‘तत्काललाई त्यहाँ जाने पाहुना र पर्यटकले उपभोग गर्न पाउने आश्रयस्थलको भवनमा दीर्घकालीन रुपमा रेष्टुरेन्ट सञ्चालन गर्न वडा कार्यालयसँग सहमति भएको छ’, गर्बुजाले भने, ‘सोवाङ धुरीबाट प्याराग्लाडिङको परीक्षणको तयारीमा छौँ ।’ म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा समेटिएको सोवाङ धुरीबाट संसारको सातौँ आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको फेददेखि चुचुरोसम्मको दृष्यावलोकन गर्न पाउनु मुख्य विशेषता हो ।  सूर्योदयका साथै गुर्जा, धवलागिरि, अन्नपूर्ण, नीलगिरि, मानापाथी, टुकुचे, माछापुच्छे« र मनास्लु हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । बागलुङ बजार, ढोरपाटन सिकार आरक्ष, पुनहिल, मोहरेडाँडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती, पहाडी भूगोलको मनोरम दृष्य देखिन्छ ।
सोवाङ धुरी जाने पदमार्गमा पर्ने जङ्गलमा घोरल, मृगलगायत जनावर र पाँचऔँले, सेदक चिनीलगायत जडीबुटी अवलोकन गर्न सकिन्छ । चिमखोलाको मण्डली युवा क्लबले दुई वर्षअघि चिमखोलादेखि पात्लेखेत–जसलाङ–सिजिखोला–सिजिखर्क–थामखर्क–खोलाखर्क–सिसर्का–तल्लोमेला–उपल्लोमेला–आलेखर्क–नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेको थियो ।  सोवाङ धुरीबाट रघुगङ्गा गाउँपालिकाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना र मुस्ताङको लेते जान सकिन्छ । चिमखोलादेखि हिँड्नसक्ने एक दिन र विस्तारै हिँडेर दुई दिनमा सोवाङ धुरी पुग्न सकिन्छ ।
अघिल्लो पुस्तासम्म चिमखोलावासी बर्खायाममा गाईभैँसी र भेडाबाख्राको गोठ लिएर सोवाङधुरी पुग्ने तथा हिउँदमा गाउँ नजिकैको बेंसीका फाँटमा झर्ने गर्दथे ।  नयाँ पहिचान भएको पदमार्ग र सोवाङ धुरीको प्रचारप्रसारका लागि ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको छ । चिमखोला घर भई हाल पोखरामा बसोबास गर्नुहुने तारा गर्बुजा पुन र उहाँका भाई गोपिन पुनले सोवाङ धुरीदेखि २०० मिटर तल क्याम्पिङ गर्ने ठाउँ नजिकै पाँच÷पाँच सय लिटर क्षमताका दुई वटा ड्रम राखेका छन् । वडा कार्यालयले पनि थप दुई ड्रम राखेको छ। हिउँ पग्लिएर र आकाशको पानी ड्रममा सङ्कलन हुने व्यवस्था मिलाएपछि पर्यटकका साथै गोठालालाई सुविधा पुगेको छ । वडा कार्यालयको प्रस्तावमा गाउँपालिकाले गत वर्ष सोवाङ धुरीमा सार्वजनिक शौचालय निर्माण गरेको थियो ।
यहाँ होटल र रेष्टुरेष्ट नभएकाले बन्दोबस्तीका सामानसहित जानुपर्छ । टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर(टान) र तत्कालीन जिल्ला विकास समितिको अगुवाइमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो । यस पदमार्गले म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ तातोपानी, दानालगायत ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ । –रासस

जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद (सूचीसहित)

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा. रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन गरेको छ । फ्रन्टले आइतबार विज्ञप्ति जारी गर्दै फ्रन्टका कार्यलाई अझ सुदृढ, प्रभावकारी र सार्थक बनाउन सल्लाहकार परिषद् गठन गरिएको जानकारी गराएको हो । सल्लाहकार परिषद्मा १३ जनालाई समेटिएको छ, जसमा मिलन पाण्डेदेखि रामजी राम हुँदै सरोज गौतमसम्म छन् ।

हेर्नुस् सूची

१. डा. रामजी राम

२. आशुतोष तिवारी

३. प्रगति राई

४. साधना राई

५. मिलन पाण्डे

६. नवीन प्राचीन

७. डा. मीना पौडेल

८. दिव्येश गिरी

९. अनन्त अर्याल

१०. रमेश पौड्याल

११. सस्मित पोखरेल

१२. प्रमेश श्रेष्ठ

१३. सरोज गौतम

भरुवा बन्दुक पड्केर ताप्लेजुङमा एक युवकको मृत्यु

काठमाडौँ । बारुद भरेको भरुवा बन्दुक पड्किँदा ताप्लेजुङका एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका- ३, लेकुवाका २६ वर्षीय फुर्वा शेर्पाको घाँटीमा गोली लागेर घटनास्थलमै मृत्यु भएको हो ।

टी-२० आई विश्वकप खेल्ने भारतीय टोलीको घोषणा

काठमाडौँ ।  आगामी फेब्रुअरीबाट सुरु हुने आईसीसी टी-२० आई विश्वकपका लागि भारतले आफ्नो टिम घोषणा गरेको छ ।  शनिबार बसेको भारतीय क्रिकेट टिम सेलेक्सन कमिटीको बैठकले सुर्य कुमार यादवको कप्तानीमा १५ सदस्यीय विश्वकप खेल्ने टोलीको घोषणा गरेको हो । 

यसपटकको विश्वकपको लागि भारतले टोलीमा अभिषेक शर्मा, संजु सैम्सन, तिलक वर्मा, हार्दिक पाण्डे, शिवम दुवे, अक्सर पटेल, रिंकु सिंह, जस्प्रित बुम्राह, हर्षित राना, अर्षदिप सिंह, कुलदिप यादव, वरुन चक्रवर्ती, वाशिंगटन सुन्दर र ईशन किशनलाई समावेश गरेको छ । 

भारतको घोषित टोलीमा एकदिवसीय र टेष्ट टोलीका कप्तान शुवामन गिललाई भने समावेश गरिएको छैन । यसअघि भारतीय टिमबाट निलम्बनमा परेका इशन किशनले भारतीय टिममा पुनरागमन गर्दै आफ्नो स्थान सुरक्षित गर्दा फिनिसर भनेर हेरिएका रिंकु सिंहले पनि टिममा फर्किन सफल भएका छन् ।

आईसीसी टि-२० विश्वकपको आठौ संस्करण आगामी फेब्रुअरी ७ बाट भारत र श्रीलंकामा हुदैछ । यो पटकको विश्वकपमा नेपाल सहित अरु २० वटा देशले प्रतिष्पर्धा गर्दै छन्।   

 

उपकुलपतिलाई कार्यकक्षमै दलियो मोसो

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रा.डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कार्यकक्षमै कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले ५–६ जनाको संख्यामा आएको अज्ञात समूहले नेपालमाथि मसी छर्केर दुव्र्यवहार गरेको जनाएको छ । उपकुलपति नेपालको क्वाटरमै पुगेर उक्त समूहले कालो मसी छर्केको डीएसपी चक्र शाहले बताए । घटनास्थलमा जिल्ला प्रहरी प्रमुख दीपक श्रेष्ठ, डीएसपी शाहसहितको प्रहरी टोली पुगेको छ ।

डीएसपी शाहले घटनाबारे बुझ्ने काम भइरहेको र घटना संलग्नलाई खोजेर पक्राउ गर्न प्रहरी परिचालन भइसकेको जानकारी दिए । दैलेखको दुल्लु स्थायी घर भएका उपकुलपति वाल्मिकी विद्यापिठमा ज्योतिषशास्त अध्यापन गर्दछन् । ज्योतिष शास्त्र अध्ययन गरेका उनी यसअघि संस्कृत विश्वविद्यालयमा परीक्षा नियन्त्रक भएर काम गरेका थिए । नेपाल नेपाल ज्योतिष परिषद्को वरिष्ठ सल्लाहकार तथा वाल्मिकी विद्यापीठ ज्योतिष विभाग प्रमुखको जिम्मेवारीमा थिए ।

राष्ट्र बैंकले २० अर्ब निक्षेप खिच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले (आज) आइतबार २० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७५ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ चैत १ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनै पनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।

 

 

साढे ८ महिनापछि घण्टीघर फर्किदै रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने साढे आठ महिनापछि पार्टीको केन्द्रीय कार्यालयमा पुनः उपस्थित हुँदैछन् । सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत बुटवल इजलासको आदेशअनुसार रुपन्देही जिल्ला अदालतमा झण्डै पौने चार करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएपछि उनी पार्टी गतिविधिमा सक्रिय देखिएका हुन् ।

गत शुक्रबार नक्खु कारागारबाट रिहा भएका लामिछाने आज पुस ६ गते दिउँसो ३ बजे काठमाडौँको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय घण्टीघरमा प्रवेश गर्दैछन् । रास्वपा प्रवक्ता मीनष झाले लामिछानेको स्वागतका लागि पार्टीले औपचारिक कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छन् । उनका अनुसार लामिछाने यसअघि अन्तिम पटक गत चैत १८ गते पार्टी कार्यालयमा उपस्थित भएका थिए ।

धरौटी बुझाउन रुपन्देही पुगेका पूर्व गृहमन्त्री समेत रहेका लामिछाने रिहा भएपछि शनिबार चितवन पुगेका थिए । त्यहाँ उनले पार्टी कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै आफ्नो राजनीतिक यात्रामा आएको कठिन समयलाई धैर्य र विश्वासका साथ पार गरेको सन्देश दिएका थिए । त्यसपछि शनिबारै उनी काठमाडौं फर्किएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रास्वपाका नेता–कार्यकर्ता र समर्थकहरूले उनलाई बाजागाजा र नाराबाजीसहित स्वागत गरेका थिए ।

काठमाडौं आइपुगे लगत्तै लामिछानेले जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई भेट्न उपत्यकाका विभिन्न अस्पताल पुगे । घाइतेहरूसँग भेट्दै उनले आफू सधैं उनीहरूको साथमा रहेको र उनीहरूको सपना पूरा गराउन निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि उनले बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगेर जेनजी आन्दोलनका शहीद परिवारसँग पनि छलफल गरेका थिए ।

शहीद परिवारसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरूको हत्या भएको उल्लेख गर्दै शहीद परिवारलाई न्याय दिलाउन आफू र आफ्नो पार्टी दृढतापूर्वक लड्ने बताए । उनले जेनजी आन्दोलन र त्यसका पीडित परिवारका मागप्रति रास्वपा पूर्ण रूपमा ऐक्यबद्ध रहेको जिकिर गरे ।

लामिछानेका अनुसार शहीद परिवारहरूले जेनजी आन्दोलनका क्रममा छानिछानी हत्या हुँदा समेत सरकारले प्रभावकारी कारबाही अघि नबढाएको गुनासो गरेका छन् । उनले सुशासन कायम गर्ने सवालमा सरकारलाई रास्वपाको पूर्ण साथ रहने दोहो¥याउँदै पीडितको न्याय र उत्तरदायित्व सुनिश्चित गर्न दबाब सिर्जना गर्ने बताए । सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा रहेका लामिछानेलाई अदालतले थुनामुक्त गरेसँगै उनी पुनः राजनीतिक रूपमा सक्रिय भएका छन् । पार्टी कार्यालयमा उनको पुनरागमनलाई रास्वपाले नयाँ ऊर्जा र संगठनात्मक सक्रियताको संकेतका रूपमा हेरेको छ ।

 

मिलन पाण्डेलाई प्रश्न: रविको रिहाइले रास्वपा र राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहा भएपछि राजनीतिक गतिविधि सुरू गरेका छन् । उनले शनिबार चितवनको चौबिसकोठीमा समर्थकहरूलाई सम्बोधन गर्दै आफू जेनजी आन्दोलन र तोकिएकै मितिमा चुनाव हुनुपर्ने पक्षमा रहेको स्पष्ट पारे । नेकपा एमाले र नेपाली कांग्रेस भित्रको एउटा पक्षले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ भनिरहेका छन् । अब लामिछाने र रास्वपाको भूमिका कस्तो रहला र त्यसले राष्ट्रिय राजनीतिमा कति प्रभाव पार्ला भनेर हामीले वैकल्पिक राजनीतिमा सक्रिय विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिलन पाण्डेलाई सोधेका छौं ।

रवि लामिछाने थुनामुक्त भएका छन् र सार्वजनिक अभिव्यक्ति दिन सुरू गरेका छन् । यसले राष्ट्रिय राजनीतिमा केही प्रभाव पार्छ ? पार्छ भने कस्तो प्रभाव पार्छ ?

रवि लामिछाने थुनाबाट निस्किएपछि उनको र रास्वपाको भूमिकाका साथै हिजो सार्वजनिक अभिव्यक्तिमार्फत उनले राखेको ‘स्ट्यान्ड’ले ध्रुविकरण एकदमै बढ्ने देखाउँछ । अहिले एमाले, कांग्रेस लगायतका शक्तिहरू निराशाका शक्ति भएका छन् । यसको बदलामा दमदार भाषण दिने, बलियो जनसमर्थन भएको र संगठनिक शक्ति पनि नेताका रुपमा लामिछाने देखा परेका छन् । एउटा आशा गर्ने ठाउँ खोजिरहेका आम नागरिकले आशा विभिन्न पात्रमा खोज्दै जाँदा पटक–पटक रवि लामिछानेमै ठोक्किएको जस्तो लाग्छ । मलाई यसमा केही गलत छ भन्ने पनि लाग्दैन।

एकातिर देउवा नसुध्रिने, कांग्रेस नसुध्रिने अवस्था छ ।  प्रचण्डजीहरू र माधवजीहरूले गरेको ठूला–ठूला सभा देखिएला तर त्यो अहिलेको पुस्ता र परिवर्तन खोजिरहेको जनतासँग ‘म्याचअप’ भइरहेको छैन । ओलीको त आम रुपमा ‘नेगेटिभ इम्प्रेशन’ नै छ । यसलाई चिर्नका लागि एउटा पात्र चाहिएको थियो र त्यसमा रवि लामिछाने आए भन्ने मलाई लाग्छ ।

चुनावको सामान्य मनोविज्ञान नै के हुन्छ भने हार्ने शक्तिले चुनाव चाहँदैन । घाटा हुने शक्ति किन जान्छ चुनावमा? अहिले एमालेलाई त्यति फाइदा हुने वातावरण बनिसकेको छैन । तर, उहाँहरू निर्वाचनको विरुद्धमा पनि जान सक्ने अवस्था छैन । त्यसैले, प्रतिनिधि सभाको मुद्धा उठाइरहेको छ र निर्वाचनको प्रक्रियामा पनि सामेल भइरहेको छ।

देउवा पनि दोहोरो खेलमा छन्। एकातिर चुनावका लागि दल दर्ता गराउँछन् भने एमालेलाई बिच्क्याउन पनि चाहँदैनन् । भोलि सरकार बनाउन संसदको अंक–गणित उनले हिसाब गरिरहेका छन् । भोलि संसद पुनःस्थापना भयो भने ‘हामीले पनि भनेका थियौँ’ भनेर क्रेडिट लिन पनि तयार छन् ।

यो राजनीतिक खेलमा रवि लामिछानेको हिजोको अभिव्यक्तिले ध्रुविकरण गराउँछ र चुनावको पक्षमा भएका शक्तिहरूलाई बल दिन्छ । चुनावको माहोल बनाउँछ ।

रास्वपासँग बालेन, कुलमान लगायत मिलेर चुनावमा जाने भन्ने कुरा पनि अघि बढिरहेका थियो तर टुंगोमा पुग्न सकेको थिएन । रवि थुनाबाट बाहिर निस्किएपछि यसमा कस्तो प्रभाव पर्छ ?

पक्कै पर्छ । हिजो निर्णय गर्नका लागि वा नेगोसिएसनका लागि नख्खु जानु पर्ने बाध्यता थियो । अब त्यो अवस्था रहेन ।

नयाँ भनिएका पार्टीहरूमध्ये बलियो संगठन पनि भएको र विघटित प्रतिनिधि सभामा नै २१ सिट जितेको हुनाले रास्वपा नै मुख्य निर्णयकर्ता थियो । उसले त्यसको अगुवाई गर्नुपर्ने थियो ।  तर राजनीतिक, व्यक्तिगत, सामाजिक, दलीय सन्तुलनका कारण पार्टीका अरू नेताहरूलाई निर्णय लिन गाह्रो हुन्थ्यो होला। यसमा रविलाई सजिलो छ । उहाँमाथि पार्टीभित्र एक तहको विश्वास छ। अब रविजीले कुलमान वा बालेनसँग सिधै वान–टु–वान वार्ता गर्न पाउनुहुने भयो । यस्तो अवस्थामा प्रक्रिया सहज हुन्छ। पहिले ‘सेकेन्ड ह्यान्ड इन्फर्मेशन’ लिनुपर्थ्यो, अब ‘फर्स्ट ह्यान्ड इन्फर्मेशन’ हुने भयो र निर्णय गर्न पनि सजिलो हुने भयो।

अर्को कुरा, यस्ता छलफल निष्कर्षमा पुग्न डेडलाइन वा टाइमलाइन चाहिन्छ। समानुपातिक उम्मेद्वारको सूची बुझाउने दिन त्यो डेडलाइन हो । त्यो दिनसम्ममा कम्तिमा रास्वपा, कुलमान र बालेनबीच त्रिपक्षीय समझदारी बन्छ जस्तो लाग्छ । किनभने, अहिलेको ध्रुवीकरण नयाँ–पुरानोभन्दा पनि जेन्जी आन्दोलनलाई स्वीकार गर्ने र नगर्नेबीच हो। जेन्जी आन्दोलनलाई आत्मसात् गर्ने शक्ति—रवि, कुलमान, बालेन—एकातिर हुन्छन्, स्वीकार नगर्ने अर्कोतिर। एउटाको नेतृत्व जेन्जीका नेताहरूले गरिरहेका छन् भने अर्कोतिर एमालेले गरिरहेको छ ।

त्यसैले वैकल्पिक शक्तिहरूबीच एकता हुने सम्भावना बलियो छ। यसको आवश्यकता पनि छ । ठूलो शक्तिसँग लड्न अर्को ठूलो शक्ति चाहिन्छ। रवि के होलान्, बालेन के होलान्, उनीहरूको चरित्र र राजनीतिक चेतना के होला,यो बहस हुँदै जाला तर अहिलेको आवश्यकता उहाँहरू मिल्नु पर्छ भन्ने नै हो ।

रवि बाहिर निस्किए पनि उनको मुद्दा चलिरहेकै छ। अहिले धरौटीमा मात्रै निस्किएका हुन्। मुद्दा नटुंगिएसम्म उनी सांसदको उम्मेदवार बन्न सक्छन्, तर सांसद भएर काम गर्न, मन्त्री वा प्रधानमन्त्री हुन पाउँदैनन् । यस्तो अवस्थामा रविको व्यक्तिगत राजनीति कसरी अगाडि बढ्ला ?

रवि सांसद नहुँदा पनि पार्टी सभापति नै छन्। आफू मन्त्री नबन्ने बाहेक अरू सबै कन्ट्रोल उनकै हातमा छ। तेस्रो पटक जितेर  आए मन्त्री बन्न नपाए सहानुभूति अझ बढ्छ। व्यक्तिगत पीडा छ तर राजनीतिक घाटा छैन। उनी आफ्नो एजेन्डा राख्न पाउँछन्, दुःख पोख्न पाउँछन् । राष्ट्रिय राजनीतिमा शक्तिशाली स्थानमा हुन्छन् । उनलाई फाइदै हुन्छ।

रवि आफैँ प्रधानमन्त्रीको दाबेदार बन्न नसक्ने अवस्थामा रास्वपाका लागि प्रधानमन्त्रीको अनुहार को हुन सक्छ?

मेरो बुझाइमा जेन्जी आन्दोलनको मर्मअनुसार देशको भूगोल र जनसंख्या हेर्दा सबैभन्दा उपयुक्त पात्र बालेन नै हुन्। उनी तयार छन् कि छैनन् भन्ने थाहा छैन तर मेयर एक्लै जितेको मान्छे प्रधानमन्त्री हुन नसक्ने कारण छैन। देशको सबैभन्दा ठूलो महानगर चलाएको मान्छेले देश चलाउने सोच्नु स्वाभाविक हो। कसरी चलाउँछन् भन्ने चाहिँ पछिको बहस हो। यदी बालेन अगाडि नआउने हो भने रास्वपासँग मिलेर गएको खण्डमा कुलमानलाई पनि उहाँहरूले भावी प्रधानमन्त्रीका रुपमा अगाडी सार्नुहोला ।

शिक्षा क्षेत्रको बेथिति अन्त्य गर्न अभिभावक नै आन्दोलनमा उत्रनु पर्छ : मन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय शिक्षामा देखिएको बेथिति अन्त्यका लागि स्थानीय तहका अभिभावकहरू नै अग्रसर हुनुपर्ने बताएका छन् । मन्त्रालयबाट मात्र निर्देशन जारी गरेर स्थानीय तहका विद्यालयमा सुधार सम्भव नहुने भन्दै उनले अभिभावकको सक्रिय भूमिका अपरिहार्य रहेको धारणा राखेका हुन् ।

सामाजिक सञ्जालमा मन्त्री पुनले लेखेका छन्, ‘जबसम्म स्थानीय अभिभावकहरू एकजुट भएर जोडदार आन्दोलन गर्दैनन् र कडा चेतावनी दिंदैनन्, तबसम्म सुधार हुन गाह्रो छ ।’ उनका अनुसार विद्यालय सुधारका लागि अभिभावकको सामूहिक दबाब नै सबैभन्दा प्रभावकारी उपाय हो । उनले संविधानले दिएको अधिकार प्रयोग गर्न अभिभावकहरूलाई आग्रह गर्दै विद्यालयको अवस्था सुधारका लागि आवाज उठाउने पूर्ण अधिकार नेपाली संविधानले नै सुनिश्चित गरेको बताए ।

शिक्षा क्षेत्रको सुधारमा अभिभावकको भूमिका केवल सरोकारवालाको मात्र नभई परिवर्तनका संवाहकको रूपमा रहेको उनको भनाइ छ । मन्त्री पुनले काठमाडौंबाट जारी हुने निर्देशनले मात्र स्थानीय विद्यालयको गुणस्तर उकास्न नसक्ने स्पष्ट पार्दै, ‘बालबालिकाको भविष्य सुधार्न अभिभावक आफैं लाग्नु पर्छ,’ भनेका छन् ।

सैनिक मञ्चमा यसरी मनाइयो विश्व ध्यान दिवस (तस्वीरहरू)

काठमाडौं । संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व ध्यान दिवस’ मनाइएको छ। संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि ध्यान दिवस मनाइदै आएको छ । संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ ।

गत वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो । सोही वर्ष पहिलोपटक टुँडिखेलमा सरकारकै आयोजनामा दिवस मनाइएको थियो । यस वर्ष पनि शिक्षा, विज्ञान प्रविधि मन्त्रालयको आयोजनामा यो दिवस मनाइएको हो ।

नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’ का रूपमा विकास गर्नुपर्ने यस क्षेत्रमा लागेकाहरूको भनाइ छ । एघार वर्षको निरन्तर प्रयासपछि राष्ट्रसंघले ध्यान दिवसलाई मान्यता दिएको हो । सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो । गत वर्ष डिसेम्बर ७ मा राष्ट्रसंघको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवस मनाउन थालिएको हो ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी

सुनको मूल्य घट्दा चाँदीको मूल्य उकालोमा

काठमाडौँ । कारोबारको पहिलो दिन आईतबार सुनको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले घटेको हो । आज प्रतितोला दुई लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार पुस ४ मा सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार ४०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदी तोलामा १०० रुपैयाँले बढेर चार हजार १०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
 

 

 

‘परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छ’

काठमाडौं । अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंग र कार्यक्रमका रुपमा अघि बढाएको बताएकी छन् । विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले परम्परागत चिकित्सा पद्धतिबारे कुनै पनि मन्त्रालयको नेतृत्व भएन भन्ने गुनासो आए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेतृत्व गर्दै आइरहेको बताइन् । आयुर्वेद र परम्परागत चिकित्सा पद्धतिका लागि यथोचित बजेट पनि छुट्याइएको जिकिर गरिन् । राष्ट्रिय नीतिमा र स्वास्थ्य मन्त्रालयको स्वास्थ्य नीति एवं पञ्चवर्षीय रणनीति र कार्यनीतिहरुमा पनि आयुर्वेदका कार्यक्रमहरु परेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘परम्परागत चिकित्सा पद्धतिको बारेमा कुनै पनि मन्त्रालयको नेतृत्व भएन । नयाँ मन्त्रालय भइदिए हुन्थ्यो भन्नेखालका कुरा पनि आयो । परम्परागत चिकित्सा पद्धतिलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महत्वपूर्ण अंग र कार्यक्रमका रुपमा अघि बढाएको छ । त्यसमा यथोचित बजेटहरु विनियोजन भएका छन् । हजारौँ हाम्रा स्वास्थ्यकर्मीहरु कार्यरत छन् । सयौँको संख्यामा हाम्रा चिकित्सालयहरु छन् ।’

उनले भनिन्, ‘अहिले मेरो मन्त्रालयबाट सचिव ज्यु र आयुर्वेद विभागका महानिर्देशक समेत यही कार्यक्रममा उपस्थित हुनुहुन्छ । यहाँहरु कसैलाई आयुर्वेदको र परम्परागत चिकित्सा पद्धतिको बारेमा जानकारी लिनुछ भने हाम्रो आयुर्वेद विभागबाट जानकारी पाउन सक्नु हुनेछ । हाम्रो राष्ट्रिय नीतिमा र स्वास्थ्य मन्त्रालयको स्वास्थ्य नीति एवं पञ्चवर्षिय रणनीति र कार्यनीतिहरुमा पनि आयुर्वेदका कार्यक्रमहरु परेका छन् ।’ मन्त्री गौतमले आयुर्वेद, योग, ध्यान, धामी, झाँक्री परम्परागत चिकित्सा पद्धति भएको बताइन् । परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण कार्यक्रमका रुपमा अघि बढाएको उनले बताइन् ।

 

भ्रष्टाचार हटाउने औषधि हुँदैन, मन शुद्ध हुनुपर्छ : शिक्षामन्त्री पुन

काठमाडौं । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैल्याउनसके भ्रष्टाचार हट्नसक्ने बताएका छन् । विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मनलाई शुद्ध पार्नुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्दै मन शुद्ध बनाउने कुरा योग र ध्यान भएको बताए । मन शुद्ध नभए लोभ, लालसा, घमण्ड पैदा हुने र भ्रष्टाचार मौलाउने बताए ।

भ्रष्टाचार हटाउने औषधि बन्न नसक्ने तर योगले मन शुद्ध बनाउने भएकाले भ्रष्टाचार हट्न सक्ने बताए । योग ध्यानलाई गाउँगाउँमा पुर्‍याउनको लागि सबैले प्रयास पनि आग्रह गरे । योग, ध्यानको कुरा विद्यालयमा अतिरिक्त क्रियाकलापको माध्यमबाट पुर्‍याउन आफूले निर्देशन दिइसकेको बताए ।योग र ध्यान पढाउने नभइ गराउने विषय भएको र विद्यालयमा शुक्रवारको दिनलाई पढाउने नभइ अतिरिक्त क्रियाकलप गर्ने दिनको रुपमा अघि बढाउनेबारे कुरा उठाएको दाबी गरे ।

उनले भने, ‘मनलाई शुद्ध गर्नुपर्ने ठूलो आवश्यकता छ । मन शुद्ध भएन भने मनमा अनेकौँ किसिमका लोभ, लालसा, घमण्ड धेरै चिजहरु बढ्छन् । त्यो बढ्यो भने भ्रष्टाचार मौलाउने एउटा राम्रो माध्यम बन्छ । जति पनि भ्रष्टचारीहरु छन् भन्छाँै हामी उनीहरुको मन भ्रष्ट छ, शुद्ध छैन । उनीहरुमा घमण्ड छ, लोभ लालसा छ । यस्तो किसिमको लोभ, लालसा, घमण्डीपना, भ्रष्टाचारीहरु जुन छ, यसलाई हटाउनको लागि औषधि खुवाएर नहुने देखियो ।’

उनले भने, ‘त्यसको औषधि बनेको पनि छैन । बन्दा पनि बन्ने छैन । तर त्यसको औषधिको रुपमा योग, ध्यानलाई हामीले हाम्रो समाज समाजमा फैल्याउन सक्नुपर्छ । टोलटोलमा फैल्याउनसके भ्रष्टाचार हट्ने ठूलो सम्भावना देखेको छु । भ्रष्टाचारीहरुको मनलाई पनि घमण्डीहरुको मन, लोभीपापीहरुको मनलाई पनि शुद्ध गर्ने एउटा माध्यमको रुमपा देखेको छु । योग ध्यानलाई गाउँगाउँमा पुर्‍याउनको लागि सबैले प्रयास गरौँ । योग, ध्यान गर्ने कुराहरुलाई पनि विद्यालय विद्यालयमा पुर्‍याउन पनि अतिरिक्त क्रियाकलापको माध्यमबाट हरेक विद्यालयमा पुर्‍याउने काममा लागेको छु। अतिरिक्त क्रियाकलापमध्ये योगलाई राख्न पनि निर्देशन दिइसकेको छु । योग विषय भनेको पढाउने कुरा होइन, गराउने कुरा हो । विद्यालयमा शुक्रवारको दिनलाई पढाउने होइन, अतिरिक्त क्रियाकलपअन्तर्ग अघि बढाउने कुरा उठाएको छु ।’ मन्त्री पुनले ध्यान र योग गर्नु भनेको मनलाई शान्ति र शुद्ध गर्नु रहेको बताए ।

योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस् : स्वामी आनन्द अरुण

काठमाडौं । काठमाडौंको मुटु मानिने टुँडिखेल आइतबार बिहान ध्यानमय बन्यो । हरेक वर्ष डिसेम्बर २१ का दिन मनाइने ‘विश्व ध्यान दिवस’ का अवसरमा आयोजित विशेष कार्यक्रममा सहभागीहरूले सामूहिक योग र ध्यान गर्दै यो दिवस मनाएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरुणले नेपालमा आध्यात्मिक पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि राज्यले उपेक्षा गरेको गुनासो गरे ।

उनले ओशो तपोवनमा हाल पनि करिब ६० देशका नागरिकहरू आत्मिक शान्तिको खोजीमा ध्यान गर्न आउने गरेको तथ्य प्रस्तुत गरे । उनले भौतिक विकासको चरम चुलीमा पुगेका विकसित राष्ट्रहरूमा नेपालमा भन्दा बढी ध्यान र योगको भोक जागेको बताए । तर, नेपाल सरकारले भने यस क्षेत्रको विकासमा आवश्यक सहयोग नगरेको उनको तर्क थियो ।

स्वामी आनन्द अरुणले योग, ध्यान र आयुर्वेद क्षेत्रलाई नियमन र संरक्षण गर्नका लागि सरकारले छुट्टै मन्त्रालय खडा गर्नुपर्ने माग राखे । आयुर्वेदको संवद्र्धन र ध्यानका साधकहरूको अभिभावकत्व ग्रहण गर्ने निकायको अभाव खड्किएको उनले बताए । सम्बोधनका क्रममा उनले धार्मिक तथा आध्यात्मिक संस्थाहरूको आर्थिक कारोबारमा सरकारले कर लगाएको विषयमा तीव्र असन्तुष्टि व्यक्त गरे ।

पूर्व प्रधानमन्त्री भट्टराई भारत जाँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा जाँदैछन् । भट्टराई भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरुसँग भेट गर्ने उद्देश्यले आज भारत जाँदैछन् । भट्टराईका स्वकीय सचिव रेखी गुरुङले जारी गरेको प्रेस नोटमा भट्टराईले आइआइटी बम्बैमा टेक फेस्ट र नयाँदिल्लीको इन्डिया इन्टरनेसनल सेन्टरको कार्यक्रममा सम्बोधन गर्ने तालिका छ । उनी पुस ९ गते नेपाल फर्किने छन् । जेन्जी आन्दोलनलगत्तै प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेर सक्रिय भट्टराईको आन्दोलनपछि पहिलो औपचारिक भारत भ्रमण हो ।

 

नोबेल मेडिकल कलेजको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

मोरङ । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका–९, जगदरीका ३४ वर्षीय अमित यादव छन् । प्रहरीका अनुसार आइतबार बिहान करिब ६ः३० बजे नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौं तलाबाट उनी खसेका थिए ।

गम्भीर अवस्थामा फेला परेपछि उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उपचार क्रममा बिहान ७ः२५ बजे उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिएका छन् । यादव सोही मेडिकल कलेजमा एमबीबीएस इन्टर्न डाक्टरका रूपमा कार्यरत थिए ।

के युरोपेली सभ्यताकै पतन हुँदैछ?

डिसेम्बर महिनाको सुरुआतमै रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभले ट्रम्प प्रशासनको नयाँ राष्ट्रिय सुरक्षा रणनीति (एनएसएस) को संक्षिप्त वर्णन गर्दै यसलाई ‘हाम्रो दृष्टिकोणसँग धेरै हदसम्म मेल खाने’ भनी तारिफ गरेका छन्। उनी सही छन्।

एनएसएसमा रूसप्रति कुनै पनि प्रकारको आलोचनाको झल्कोसमेत छैन । न त झन्झन् अधिनायकवादी बन्दै गएको आन्तरिक रुसी नीतिहरूको आलोचना गरिएको छ  न त युक्रेनविरुद्धको यसको खुला सैन्य आक्रमणका लागि नै । बरू, यसले अमेरिकाका लामो समयदेखिका लोकतान्त्रिक मित्र र सहयोगीका रूपमा रहेको युरोपलाई नै विशेष रूपमा आक्रमणको निशाना बनाएको छ।

साँचो हो, ट्रम्पको पहिलो कार्यकाल २०१७ मा आफ्नो सुरक्षा रणनीति जारी गर्दा राष्ट्रिय सार्वभौमिकता सबैभन्दा माथि हुने कुरा धेरै उठाइएको थियो। तर त्यो दस्तावेजले पनि अमेरिकाका सहयोगीहरूको मूल्यलाई स्वीकार गरेको थियो र ‘संयुक्त राज्य अमेरिका र युरोपले रूसी विध्वंस र आक्रमणको प्रतिरोध गर्न सँगै काम गर्नेछन्’ भनी उल्लेख गरेको थियो। यसबाहेक, यो प्रयास ‘महाशक्ति प्रतिस्पर्धा’ भन्ने व्यापक रणनीतिसँग मेल खान्थ्यो, जहाँ चीनको भूमिका ठूलो थियो।

त्यसयता, रूसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गर्‍यो र चीनको प्रभाव झन् व्यापक हुँदै गयो। तर, दोस्रो कार्यकालमा ट्रम्प प्रशासन रूसप्रति झुकिरहेको छ, युरोपेलीहरूलाई आलोचना गरिरहेको छ, र चीनबाट आउने खतरालाई केवल आर्थिक दृष्टिकोणबाट मात्र वर्णन गरिरहेको छ। यस्तो देखिन्छ कि महाशक्ति प्रतिस्पर्धा अब महाशक्ति मित्रतामा रूपान्तरित भएको छ। यो रणनीतिले अमेरिका अहिले ‘स्थिरता’ मा बढी रुचि राख्छ भन्छ । जुन कथित रूपमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सहकार्य गरेर र चिनियाँ राष्ट्रपति सि जिनपिङसँग जीटु मार्फत हासिल गर्न सकिन्छ। यसको निहित सन्देश के हो भने महाशक्तिहरू उस्तै सोच राख्छन्। प्रत्येकले आफ्नै प्रभाव क्षेत्र चाहन्छ र सिद्धान्तभन्दा शक्तिलाई प्राथमिकता दिन्छ।

धेरै टिप्पणीकारहरूले औँल्याएझैँ, यो सुरक्षा रणनीति अघिल्ला अमेरिकी नीति र सिद्धान्तहरूबाट एकदमै ठूलो विचलन हो। यसले पश्चिमी गोलार्द्धतर्फ फर्किने संकेत दिन्छ र प्रायः सबै मुद्दामा सिद्धान्तभन्दा नाफालाई प्राथमिकता दिने सोच देखाउँछ। उदाहरणका लागि मध्यपूर्वलाई मुख्यतः लगानीको गन्तव्यका रूपमा हेरिएको छ। राजनीति जटिल हुन्छ तर व्यापारिक सम्झौता सजिलो।

युरोपको कडा निन्दा भने विशेष रूपमा ध्यान खिच्ने खालको छ, विशेष गरी यसको आधारभूत तर्कमै रहेका त्रुटिहरूका कारण। सुरक्षा रणनीतिले दाबी गर्छ- ‘केही दशकभित्रै, केही नाटो सदस्य राष्ट्रहरूमा गैर-युरोपेलीहरू बहुमतमा पुग्नेछन्,’ र ‘सभ्यतागत पतन’ को भाग्य भोग्न लागेको युरोप (जसलाई धेरैले उपराष्ट्रपति जेडी भान्सको लेखनी ठान्छन्) भरपर्दो सहयोगी हुन सक्दैन। तर यो सरासर गलत हो। निकट भविष्यमा कुनै पनि युरोपेली देशमा “गैर-युरोपेली” बहुमत हुने छैन। यसमा मुस्लिम जनसंख्याको हिस्सा सबैभन्दा ठूलो भएको देश—रूस—समेत पर्छ।

यस्तो घृणित भाषाशैली सिधै युरोपेली अतिवादीहरूबाट आएको हो। अमेरिका आफ्ना सबैभन्दा बलिया र नजिकका सहयोगीहरूसँग कस्तो व्यवहार गर्ने भन्ने आधार नै यस्तै विचार बन्नु अचम्मलाग्दो कुरा हो। ट्रम्प प्रशासन अहिले युरोपेली देशहरूको आन्तरिक नीति र राजनीतिमा हस्तक्षेप गर्न तयार देखिन्छ, ‘देशभक्त’ शक्तिहरूलाई अघि बढाउन—अर्थात् उही जातीय घृणा फैलाउने विचार बेच्नेहरूलाई। रूसले समेत युरोपेली लोकतान्त्रिक प्रक्रियामा हस्तक्षेप गर्ने आफ्नो मनसाय यति खुलेर कहिल्यै देखाएको छैन।

यसको परिणाम के हुन्छ भन्ने कुरा अझै हेर्न बाँकी छ। ट्रम्पसँग नजिकिनु चुनावी रूपमा खासै जित्ने रणनीति होइन, त्यसैले युरोपमा अमेरिकी हस्तक्षेप रूसको प्रयासजत्तिकै असफल हुन सक्छ। तर ट्रान्सएटलान्टिक सम्बन्ध पहिल्यै कति बिग्रिसकेको छ भन्ने हेर्दा, यसको क्षति झन् ठूलो पनि हुन सक्छ।

निश्चय नै, हामी युरोपेलीहरूका आफ्नै समस्याहरू छन्। हामीले उद्यमशीलता, प्रतिस्पर्धात्मकता र विश्वव्यापी व्यापारिक भावना पुनर्जीवित गर्नुपर्छ, रक्षा क्षमता बलियो बनाउनु पर्छ, र महादेशभरि एकीकरणको सफल परियोजनालाई अझ विस्तार गर्नुपर्छ। आप्रवासन व्यवस्थापन चुनौतीपूर्ण छ—जसरी यो अमेरिकाका लागि पनि छ।

समग्रमा, हामी अत्यन्त सफल समाजहरू हौँ र त्यो कुरा बिर्सनु हुँदैन। यहाँ हत्या प्रयास र राजनीतिक हिंसा अत्यन्तै दुर्लभ छन्। हाम्रा संसदहरूमा राजनीतिक भीडले आक्रमण गर्ने घटनाहरू हुँदैनन्। हाम्रा लोकतन्त्रहरू खुला र जीवन्त छन् र धेरैजसो प्रेस स्वतन्त्रताका विश्वव्यापी सूचीकै शीर्षमा छन्। हाम्रो कारागारमा रहेको जनसंख्या अमेरिकाको तुलनामा पाँचौँ भाग मात्र छ, र हत्या दर त झन् धेरै कम छ। विश्वसँग हाम्रो ठूलो व्यापार घाटा छैन। हाम्रो स्वास्थ्य प्रणालीले अझ राम्रो परिणाम र लामो आयु प्रदान गर्छ, र समग्रमा, युरोपेली संघका सदस्य राष्ट्रहरूमा जनसंख्या बढी शिक्षित छ।

हामी सुरक्षा रणनीतिले हास्यास्पद रूपमा भनेझैँ “विलुप्त” हुने जोखिममा छैनौँ। पृथ्वीमा युरोपजत्तिको ठूलो जनसंख्यालाई यति राम्रो जीवनस्तर प्रदान गर्ने ठाउँ कमै छन्। ट्रम्पको अमेरिकालाई खुशी पार्न खोज्नुको सट्टा हामीले अझ मजबुत रूपमा उभिनु पर्छ, आफ्नै मूल्यहरूमा पुनः प्रतिबद्ध हुनुपर्छ । र, एटलान्टिकपारि देखिएको वैचारिक अन्योल चाँडै समाप्त होस् भन्ने आशा राख्नुपर्छ। यदि त्यो नभए पनि सभ्यतागत आत्महत्या हामीले गर्ने होइन।

(विल्ट्ड स्वीडेनका पूर्वप्रधानमन्त्री हुन् ।)

-प्रोजेक्ट सिन्डिकेटबाट

हर्क साम्पाङले गरे अर्का उपाध्यक्ष परियारलाई कारबाही

काठमाडौं । श्रम संस्कृति पार्टीभित्र आन्तरिक अनुशासनको विषय फेरि चर्चामा आएको छ । पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङले पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका छन् । शनिबार बुटवलको ट्राफिक चोकमा आयोजित पार्टीको सभामा परियारले दिएको अभिव्यक्ति र त्यसपछिको व्यवहारले पार्टीको आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै कारबाही गरिएको अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

साम्पाङले सार्वजनिक गरेको स्टाटसमा श्रम संस्कृतिमा पदका आधारमा ठूलो–सानो नहुने उल्लेख गर्दै कार्यक्रमकै क्रममा आयोजक र सहसंयोजकप्रति गरिएको व्यवहार आपत्तिजनक भएको जनाएका छन् । ‘श्रम संस्कृतिमा कोही सानो, कोही ठूलो हुँदैन । आज उपाध्यक्षले बुटवलका आयोजकलाई गरेको अपमान र सहसंयोजकलाई बोलेको अपमानजन्य बोलीका कारण आचारसंहिता उल्लङ्घन भएकोले नसच्चिएसम्म कारबाही गरिएको जानकारी गराउँदछु’, उनले लेखेका छन् । तर, कारबाहीको स्वरूप र अवधि भने स्पष्ट खुलाइएको छैन ।

घटना शनिबार बुटवलमा पार्टीले आयोजना गरेको सभाको क्रममा भएको हो । स्वागत मन्तव्यपछि प्रमुख अतिथिका रूपमा अध्यक्ष साम्पाङले सम्बोधन गरेपछि टीका लगाउने र पार्टी प्रवेशको कार्यक्रम सुरु गरिएको थियो । यही क्रममा उद्घोषकले उपाध्यक्ष डा. परियारलाई सम्बोधनका लागि आमन्त्रण गरेका थिए । तर, उनको बोलाइ सुरु हुँदा अधिकांश सहभागीको ध्यान अध्यक्ष साम्पाङसँग टीका लगाउने र फोटो खिच्ने कार्यक्रममा केन्द्रित भएपछि परियार असन्तुष्ट देखिएका थिए।

सम्बोधनकै क्रममा परियारले आयोजक समितिप्रति सार्वजनिक रूपमा असन्तोष व्यक्त गर्दै आफूलाई केन्द्रीय उपाध्यक्षका हैसियतले बोल्न पाउनु पर्ने बताएका थिए। ‘कार्यक्रम आयोजकहरूले अलिकति मिस्टेक गर्नु भएको छ । ध्यान यता, मन यता हुन सक्दैन । म केन्द्रीय उपाध्यक्ष हुँ, म पनि बोल्न पाउनु पर्छ । ध्यान अन्त मोडिनु हुँदैन’, भन्दै उनले कार्यक्रम रोक्न समेत आग्रह गरेका थिए । उनले आफू दुई दिनदेखि बुटवलमा रहेर मेहनत गरेको उल्लेख गर्दै कार्यक्रमको सेड्युल नमिलेको अनुभूति भएको बताए र आयोजक कमिटीले आत्मसमीक्षा गर्नुपर्ने धारणा राखेका थिए ।

सभापछि समेत परियारले आयोजक कमिटीका सहसंयोजकप्रति अपशब्द प्रयोग गरेको जानकारी आएपछि अध्यक्ष साम्पाङले यसलाई गम्भीर रूपमा लिँदै आचारसंहिता उल्लङ्घन भएको निष्कर्ष निकालेका हुन् । पार्टी नेतृत्वका अनुसार श्रम संस्कृति पार्टीमा पदभन्दा व्यवहार र अनुशासनलाई प्राथमिकता दिइन्छ, र त्यसविपरीत जाने जो–कोहीलाई कारबाही गरिने नीति कायम रहेको छ ।

यो पहिलो पटक होइन, श्रम संस्कृति पार्टीका उपाध्यक्ष कारबाहीमा परेको । यसअघि विष्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ परेका पार्टीका अर्का उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई पनि पार्टीले कारबाही गरिसकेको छ । लगातार उपाध्यक्ष तहका नेताहरू कारबाहीमा पर्न थालेपछि पार्टीभित्रको आन्तरिक अनुशासन, नेतृत्व शैली र व्यवस्थापनबारे राजनीतिक वृत्तमा चासो बढेको छ ।

मधेशमा आज सभामुखको निर्वाचन हुँदै

काठमाडौँ । मधेश प्रदेश सभामुखका लागि आज (आइतबार) निर्वाचन हुने भएको छ । शनिबार मधेश प्रदेश सभामा सातदलीय गठबन्धनबाट जसपा नेपालका रामअशिष यादवको उम्मेदवारी परेको छ । यस्तै, नेकपा एमालेले त्रिलोकी प्रसादलाई उम्मेदवार बनाएको छ ।

पद अनुकूलको आचरण नगरेको भन्दै सात दलीय गठबन्धनले दुई तिहाइबाट यसअघिका सभामुख रामचन्द्र मण्डललाई मंसिर ३ गते दुहटाएपछि नयाँ सभामुख चयनको प्रक्रिया अघि बढेको हो । दिउँसो १ बजे प्रदेशसभा बैठकमा सभामुखको निर्वाचन कार्यतालिका छ ।

कुलमान भन्छन्, ‘हामी राजनीति गर्न आएका होइनौं’

उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरु राजनीति गर्न नआएको बताएका छन् ।

चितवनमा शनिबार जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू राजनीति गर्न नभइ देश परिवर्तन गर्न आएको बताए । राजनीति र नेतृत्व फरक कुरा रहेको भन्दै उनले देशलाई परिवर्तन गर्न जरुरी रहेको बताए ।

घिसिङले नेपालमा जुन किसिमको राजनीति छ त्यो राजनीति गर्न आफू राजनीतिक दल खोलेर नआएको बरु बाटोमात्रै समातेको जिकिर गरे । देश परिवर्तन भएन, देशमा सुशासन भएन, देश समृद्ध भएन भने देश कहिल्यै पनि अघि बढ्न नसक्ने उनको भनाई छ।

उनले भने, ‘हामी राजनीति गर्न चाहीँ आएको होइन । राजनीति गर्न आएको होइन तर देश परिवर्तन गर्न आएको हो । राजनीति र नेतृत्व फरक छ । देशलाई परिवर्तन गर्न आएको हो । जुन किसिमको राजनीति नेपालमा छ, त्यो राजनीति गर्न आएको होइन, त्यो बाटोमात्रै समातेको हो । यो बाटो समातेर देशलाई परिवर्तन गर्नुपर्छ । देश परिवर्तन भएन, देशमा सुशासन भएन, देश समृद्ध भएन भने देश कहिल्यै पनि अघि बढ्दैन । हामी देश परिवर्तन गर्ने नेतृत्व दिन आएका हौँ । देशको शासक बन्न आएको होइन । आम नेपाली जनताको सेवक बन्न आएका हौँ ।’

मन्त्री घिसिङले आफू भाषण नभइ नतिजा दिने पक्षमा रहेको बताए ।

 

हर्क साङपाङले गरे पार्टी उपाध्यक्षलाई कारबाही

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङले पार्टी उपाध्यक्ष मित्र परियारलाई कारबाही गरेका छन् ।
आज बुटवलमा भएको कार्यक्रममा आयोजकलाई अपमान गरेको र सहसंयोजकलाई अपमान गरेको भन्दै कारबाही गरेका हुन् ।
फेसबुकमा स्टाटस लेखेर उनले कारबाही गरेको जनाए पनि के कारबाही गरिएको हो भन्ने खुलाएका छैनन् ।

उनले फेसबुकमा लेखेका छन्, `श्रम संस्कृतिमा कोही सानो कोही ठुलो हुँदैन ! आज उपाध्यक्षले बुटवलका आयोजकलाई गरेको अपमान र सहसंयोजकलाई बोलेको अपमानजन्य बोलिका कारण आचारसंहिता उलङ्घन भएकोले नसच्चिए सम्म कार्यवाही गरिएको जानकारी गराउँदछु !´ Continue reading “हर्क साङपाङले गरे पार्टी उपाध्यक्षलाई कारबाही”

मधेसको सभामुख बन्न यी दुई जनाले दिए उम्मेदवारी

काठमाडौं ।  मधेस प्रदेश सभाको सभामुख पदका लागि दुई जना प्रदेश सभा सदस्यहरुले उम्मेदवारी दर्ता गराएका छन् ।  बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म निर्धारित गरिएको मनोनयन दर्ताको समयमा सत्तारुढ ७ दलिय गठबन्धनको तर्फबाट जसपा नेपालका रामअशिष यादव र एमालेका त्रिलोकी प्रसादले सभामुख पदमा उम्मेदवारी दर्ता गराएका हुन्, प्रदेशसभा सचिवालयका प्रवक्ता विपिन ठाकुरले जानकारी दिएका छन् ।

जसपा नेपालको प्रमुख सचेतकसमेत रहेका यादवको उम्मेदवारीमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा(माओवादी केन्द्र)का फकिरा महतो समर्थक रहेको छ । सभामुख उम्मेदवारी दर्ता अघि बसेको सात दलीय गठबन्धनको बैठकले यादवलाई सर्वसम्मत रूपमा साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

यता त्रिलोकी प्रसादको उम्मेदवारीमा नेकपा एमालेकी प्रदेश सभा सदस्य शारदादेवी थापा प्रश्तावक तथा जयचन्द्रप्रसाद पटेल समर्थक रहेका छन् । सभामुख उम्मेदवारी दर्ता अघि बसेको एमाले संसदीय दलको बैठकले त्रिलोकी प्रसादलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

सिंहदरबार धाइरहेका सहिदका बुबा भन्छन् : छोराको बलिदान खेर नजाओस्

काठमाडौँ  ।  गत भदौ २३ को बिहान सौरनको मुहारमा देखिएको उत्साह देखेका परिवार सदस्यले जेनजी आन्दोलनमा नजान सम्झाइरहेका थिए । अमेरिका बस्दै आएकी बहिनी र बुबा, वसन्त किशोरले भिडियो कलबाटै चिन्ता व्यक्त गरिरहे । जवाफमा सौरनले भनेका थिएर्, बहिनी यहाँ भएको भए तँ पनि जान्थिस, चिन्ता लिनुपर्दैन केही हुँदैन ।’  त्यो बिहान आन्दोलनमा जाने सौरनको हठले जित्यो । अघिल्लो रात बचेको खाना तताएर खाए । दारी काटे र नुहाए । घरबाट निस्किँदै गर्दा साथमा चाउचाउ, चिप्स, पानी र रुमाल राखेकोे झोला भिरे ।  मुलुकमा देखिएको भ्रष्टाचार र राजनीतिक विसङ्गतिविरुद्ध आह्वान हो, हामी बोल्नुपर्छ बुबा’, घरबाट निस्कन अघि सौरनले बुवालाई सम्झाउँदै भनेका थिए ।
अन्तरमुखी स्वभावका सौरन पहिलो पटक आन्दोलनमा सहभागी हुँदै थिए । यता, परिवारको चिन्ता चुलिँदै थियो । सामाजिक सञ्जालमा जेनजीले उठाएको मुद्दाले उनलाई छोएको थियो । राजनीतिप्रति कम चासो लिने उनले त्यो आन्दोलनलाई भने चासोका साथ लिएका थिए । उनी यसपटक दबाबमूलक प्रदर्शनमा सहभागी हुने अठोट गरेका थिए  ।  काठमाडौँ नगरपालिका–१६ वनस्थलीमा बस्ने सौरन किशोर श्रेष्ठले माइतीघरस्थित जेनजी प्रदर्शनमा सहभागी भएको केही समयसम्म पनि श्रीमती रोजिता श्रेष्ठसँग फोन सम्पर्कमा थिए ।  केही समयलगत्तै सम्पर्क टुट्यो । यता प्रदर्शनकारीमाथि सरकारको दमन र मृत्युको समाचारमा मृतकको सङ्ख्या बढ्न थाल्यो । तत्कालीन समयमा अमेरिकामा रहेका बुबा किशोरले समाचारबाट थाहा पाए, छोराले सहादत प्राप्त गरेछ ।  सरकारको दमनबाट प्रदर्शनकारीको मृत्यु भएको समाचारबाटै थाहा पाए, त्यो घटनामा हाम्रो छोरा परेछ । तर श्रीमतीलाई भनिन्, कसरी भन्न सकू’, छोरोबारे कुरा गर्दै गर्दा काखमा छ वर्षे नाति, सौरनको छोरा श्रेयनलाई च्यापिरहेका छन्र्, संसद् भवन अगाडिको एक नम्बरको गेटमै हुनुपर्छ । सुरुआत दमनमै छोरोमाथि गोली प्रहार भएको रहेछ । छातीको दायाँपट्टी दुई वटा गोली, हात र घाँटीमा छर्रा लागेको रहेछ ।’
नेपालमै रहेकी सौरनकी श्रीमती रोजिताले त्यस अघि नै खबर पाइसकेकी थिईन । घाइते सौरनलाई उपचारका लागि निजामती कर्मचारी अस्पताल९सिभिल० हुँदै केएमसी अस्पताल पुर्याइएको थियो । प्रदर्शनकारीहरुले नै उनलाई सिभिलसम्म पु¥याएको थियो । सौरनले अचेत हुनु अघि श्रीमतीको नम्बरसम्म भन्न भ्याए ।
श्रीमान् को  खबरले विक्षिप्त उनी आफ्नो छ वर्षे छोरो च्यापेर अस्पताल पुगिन् । पुगेको केही समयमै अस्पतालले मृत घोषणा ग¥यो । वृद्ध आमाबुबाले छोरो गुमाए, छ वर्षे नाबालकले बुवा र रोजिताले जीवनसाथी । ३८ वर्षीय सौरन श्रेष्ठ पाँच वर्षको कोरिया बसाइपछि स्वदेशमा केही गर्न सकिन्छ भन्ने अपेक्षाले देश फिर्ता आएका थिए । तर केही समयसम्मको नेपाल बसाइँपछि उनले पुनःविदेशिने निर्णय गरेका थिए । यसपटक उनको रोजाइ क्यानडा थियो ।
अमेरिका भ्रमणमा रहेका बुवा र आमा फर्किएपछि दसँैलगत्तै परिवारको पुनःमिलनको प्रतिक्षामा थियो, श्रेष्ठ परिवार । सौरनको मृत्युको खबरलगत्तै आमाबुवा नेपाल फर्किए । दसैँपछि परिवार पुनःमिलन कुरिरहेको छोराको गोली र छर्रासहितको शव बुझ्दै गर्दाको दृश्यले श्रेष्ठ दम्पती लाई विगत तीन महिनादेखि निदाउन दिएको छैन ।  हामीलाई नै कुरेर बसिरहेको थियो । दसँैपछि हामी नेपाल फर्किन्छौँ भन्ने तयारीमा थियो । तर ऊ आफँैले दसैँ पनि मनाउन पाएन । हामीलाई धेरै पीडा भइरहेको छ’, आमा, निरु श्रष्ठले हरेक पटक सौरनको कुरा निस्किँदा आँसु थाम्न सकदिनन्, “परिवारलाई माया गर्ने । मेरो बाबु सोझो थियो, ज्ञानी थियो । के गर्नु ।’
पहिलो पटक आन्दोलनमा भएको थियो, पहिलो लटमै पर्यो 
सौरन बिबिएस पढ्दापढ्दै कोरिया गएका थिए । क्रिकेटमा रुचि राख्ने उनी अधिकांश समय परिवारसँग बिताउन मनपराउथे । उनी घरको जेठो छोरा हुन । श्रेष्ठ दम्पतीको पहिलो सन्तान उनको बहिनी अमेरिकामा बस्दै आएकी छिन् । बागलुङ स्थायी ठेगाना भएका उनी र सपरिवार वनस्थली बस्दै आएका थिए ।
उनले बागलुङ नगरपालिकामा विद्यालय तह र कक्षा १२ काठमाडौँको भिएस निकेतनमा अध्ययन गरेका थिए । उनका धेरै साथीहरु भएको परिवार सदस्यहरु जानकार छैनन । “आखाँमा नबिझाउने केटो थियो, मेरो छोरा’, ६० वर्षीया निरु भन्छिन्, “उसलाई परिवार भन्दा अरु चासो थिएन । हतपत बाहिर नहिँड्ने, सहभागी नहुने केटो आन्दोलनमा गयो । उसको राजनीतिज्ञसँग सहमत नै हैन, त्यस्तो साथीहरु थिएनन् ।’
सिंहदरबार धाइरहेको सहिद परिवार 
सौरनका बुबा किशोर अहिले हरेक दिनजसो सिंहदरबार धाउने गर्दछन् । सौरन र ऊ जस्तैले दिएको बलिदान खेर नजाओस् भन्नेमा उनी दृढ रहेका छन् । यस्तै विषयमा सरकारका मन्त्री प्रधानमन्त्रीलाई बेलाबेलामा झस्काईरहने गर्दछन् । पेसाले व्यवसाय गर्दै आएका उनी आफूसँगै अन्य सहिद परिवारको आवाज बोकेर सिंहदरबारभित्र मन्त्री र सचिवको कार्यकक्ष धाइरहेको बताउँछन् । सहिद परिवार र सरकारबीच भएको सम्झौता कार्यान्वयनको नै उनीहरुको मुख्य माग हो ।  मेरो घरमा प्रधानमन्त्री, सञ्चारमन्त्रीलगायत तत्कालीन मन्त्रीहरु आउनुभयो । तीन चार समूहका जेनजी नानीबाबु पनि आउनुभयो । सरकारले गर्छु भनेको छ । प्रधानमन्त्री सुशीला कार्कीले रुँदै छोराको शवमा फूल चढाउनुभयो’,  ६३ वर्षीया किशोर श्रेष्ठ भन्छन्र्, तर सरकारका मन्त्रीहरुको आश्वासनको बाबजुत कर्मचारीतन्त्र अझै अलमलमा देखिन्छन । मन्त्रीहरु हुन्छ, हुन्छ भन्नुहुन्छ, कर्मचारीहरु भएन, भएन भन्छन् ।’
जेनजी प्रदर्शनमा सहिद भएका परिवारहरुले विभिन्न मागसहित कार्यान्वयनका लागि पहल गरिरहेका छन् । सरकारसँगको विश्वास र अपेक्षामा सिंहदरबार धाइरहेका उनलाई कर्मचारीतन्त्रबाट हतोसाहित हुने गरेको गुनासो सुनाँउछन् ।
सहिदको बालबच्चालाई कक्षा १२ सम्म अध्ययनको व्यवस्था, परिवारलाई योग्यता अनुसारको रोजगारी, बुवा आमालाई जीवननिर्वाह भत्ता, स्वास्थ्य बिमा र यातायात, बैंकलगायतमा सुविधा पाउनुपर्छ भन्ने माग राखेका छौँ’, उनले भनेर्, संसद् भवन अगाडि सहिदहरुको शालिक बनाउनुपर्छ ।’
गृहमन्त्रालय अन्तर्गत सहसचिवको नेतृत्वमा बनेको संयन्त्रबाट पास भएर गएका विषय मन्त्रिपरिषद्म जाने र सचिवले गर्ने प्रायः धेरै काम रोकिएको छ । मन्त्रीहरुले हुन्छ भनेको काम सचिवबाट रोकिएको छ । कहिले के भएन भन्ने कहिले के, टिप्पणी उठदैन । संयन्त्रमा सहमति भयो तर कार्यान्वयन भएको छैन । पास गर्न सकिएको छैन । त्यही कारण हामी सिंहदरबार धाएको धाए छौँ, कहिले मन्त्री स्वयंले समय दिनुहुन्छ, कहिले के हुन्छ यसैगरी चलिरहेको छ ।’

शहिद परिवार भेट्दा रविले खसाए आंशु (तस्बिरहरू)

थुनामुक्त भएपछि पहिलोपल्ट शनिबार सार्वजनिक कार्यक्रममा सहभागी  भएका रवि लामिछानेले भदौ २३ र २४को जेनजी आन्दोलनका शहिद परिवारसँग भेटघाट गरेका छन् ।

काठमाडौंको ट्रमा सेन्टर लगायतका अस्पतालमा उपचार गराइरेहका घाइतेहरूसँग पनि भेटघाट गरे ।

शनिबार बिहान नै उनले चितवनको चौबिसकोठीमा समर्थकहरूलाई सम्बोधन गर्दै आन्दोलनमा जेनजीले बगाएको एक थोपा रगत पनि खेर जान नदिने बताएका थिए ।

शनिबार नै काठमाडौं आएका उनले आन्दोलनका घाइते र शहिद परिवारको भेटघाटले प्राथमिकता दिएका हुन् ।

महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई

काठमाण्डौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण नबनेको आरोप लगाएका छन् । ईश्वर पोखरेलको समूहले आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले प्रतिनिधि छनौट, बन्दसत्रदेखि निर्वाचनसम्म नै पार्टीका संरचनाहरुको दुरुपयोग गर्ने काम भएको बताएका हुन् ।

यसले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासमाथि प्रश्न चिन्ह खडा गरेको उनको भनाई छ । उनले आगामी दिनमा यसको थप समिक्षा गर्ने पनि बताए । उनले लोकतान्त्रिक अभ्यासमा सहभागी भएपछि आएको परिणामलाई भने स्वीकार गर्ने बताएका छन् । एमाले अध्यक्ष केपी ओलीले ल्याएका राम्रा पक्षहरुलाई समर्थन गर्ने र पक्षपातपूर्ण व्यवहार भए  प्रतिवाद गर्ने जानकारी दिएका हुन् । उनले आगामी निर्वाचन लगायत वाह्य प्रतिष्पर्धामा भने एकजुट हुने बताएका हुन् । विचारको आधारमा पार्टीभित्र अन्तरसंघर्ष भने जारी रहने उनको भनाई छ ।

उनले भने, लोकतान्त्रिक प्रतिस्पर्धामा हामी सामेल भयौँ । यद्यपि त्यो लोकतान्त्रिक प्रतिष्पर्धा कति स्वस्थ भयो ? कति मयार्दित भयो ? त्यो सबैले देखेकै छ । प्रतिनिधि छनौटदेखि बन्दसत्र सञ्चालनभित्र भएका थुप्रै क्रियाकलापहरुले हाम्रो पार्टीको लोकतान्त्रिक अभ्यासमाथि पनि गम्भिर प्रश्नहरु उठाएको छ । पार्टी संरचनाहरुको दुरुपयोग गरिएको छ । संगठन विभाग लगायतका निकायहरुको दुरुपयोगबाट पार्टीको आन्तरिक लोकतन्त्रलाई अस्वस्थ बनाउने कोशिस भयो, त्यसप्रति हामीले चिन्ता व्यक्त गरेका छौँ । जे सुकै भएपनि यसको समिक्षा आगामी दिनमा हुँदै जाला । पार्टीको केन्द्रिय कमिटिको बैठक छ, २६, २७ र २८ गते त्यहाँ पनि हामीले यसको समिक्षा गर्ने नै छौँ । तर एउटा लोकतान्त्रिक अभ्यासमा भाग लिईसकेको हुनाले यसको परिणामलाई हामीले सहज रुपमा स्वीकार्छौं ।

आजको भेलाबाट केपी ओलीलाई पार्टी अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिएका छौँ । उनले ल्याउने सकारात्मक प्रश्तावलाई हामीले सर्मथन गर्दछौँ । यदी पार्टी एकतालाई खण्डित गर्ने, पार्टीभित्र पक्षपात गर्ने, पार्टीभित्र गुटबन्दी, विभाजन गर्ने, पार्टीभित्र काखा र पाखा गर्ने प्रश्तावहरु आए भने हामी त्यसको प्रतिवाद गर्छौं । र पार्टीलाई आगामी निर्वाचन लगायतका वाह्य प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न हामी हरदम पार्टीको पक्षमा खडा हुनेछौँ । पार्टीभित्र हामी कुनै अराजनितिक वार्गेनिङ गर्दैनौँ । तर राजनितिक मुद्दामा हामी सधै पार्टीभित्रको आन्तरिक संघर्षमा सामेल हुन्छौं । यतिबेला विभाजन होईन र आत्मसमर्पन पनि होईन, निरन्तर सर्घष हाम्रो लाईन हुनेछ ।’

उनले अध्यक्ष केपी ओलीको व्यवहारमा कुनै परिवर्तन नआएको उल्लेख गर्दै सामुहिक निर्णय र नेतृत्व हस्तान्तरणको एजेण्डा भने उठाइरहने बताएका छन् । उनले पार्टीभित्र अपमान हुने गरी कसैको मानमर्दन गरेमा प्रतिवाद गर्ने चेतावनी पनि दिएका छन् । पार्टीको महाधिवेशनमा आफ्नो पक्षले सफलता हासिल गर्न नसेकेकोमा पनि समिक्षा गर्ने भेलाले निर्णय गरेको उनले जानकारी दिएका छन् । निर्वाचनमा सहभागी भएर सफलता हासिल हुन नसकेकाहरुलाई विचलिन नभई पार्टी निर्माणमा लाग्न आग्रह गरेको पनि उनले बताएका छन् ।

रास्वपाले गर्‍यो उम्मेद्वारका आकांक्षीसँग छलफल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट सिफारिस हुने समानुपातिक उम्मेदवारसँग छलफल गरेको छ ।

रास्वपाले आज देशभरका सातै प्रदेशमा पार्टीका तर्फबाट आगामी निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवार बन्न इच्छुक व्यक्तिसँग छलफल गरेको हो ।

रास्वपाले सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको दाङ, गण्डकी प्रदेशको पोखरा, वाग्मती प्रदेशको काठमाडौँ, मधेस प्रदेशको जनकपुर र कोशी प्रदेशको इटहरीमा उम्मेदवारसँग छलफल गरेको हो ।

रास्वपाका नेता एवं उम्मेदवार छनोट समितिका संयोजक विराजभक्त श्रेष्ठले आगामी निर्वाचनका लागि रास्वपाबाट योग्य उम्मेदवार छनोट गर्न सम्भावित व्यक्तिसँग छलफल गरिएको जानकारी दिए । छनोट भएका उम्मेदवारलाई पार्टीको केन्द्रीय समितिले अनुमोदन गर्ने छ ।