`

सरकारलाई प्रचण्डको चेतावनी : निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको मिति सार्ने दुःशाहस नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

शनिबार काठमाडौंमा  आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उनले तोकिएको मितिमा निर्वाचन गराउने कामलाई सरकारले कुनै पनि तर्क र बहानामा सार्ने काम गरे सह्य नहुने चेतावनी दिएका हुन् । संयोजक दाहालले मुलुकमा सहज ढंगले समयमै निर्वाचन होस् भन्ने आफ्नो पार्टीले चाहेको र त्यसपछि धकेल्ने काम सरकारले गरे त्यसको विरुद्ध आफूहरु सडक संघर्षमा जाने समेत बताए ।

उनले निर्वाचन पछि धकेलेर सरकारले फेरी संविधान मिच्ने काम गर्न नहुने दोहोर्‍याउनु भयो ।

उनले भने, ‘हामीले भनेका छौ–सहज ढंगले निर्वाचन सम्पन्न होस । सरकारलाई हामी भन्न चाहन्छौ–तपाईहरु कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुःशाहस नगर्नु होला । यदि तपाईहरुले संविधान बारबार मिच्ने, एक चोटी त मिचिइसकिएको छ । त्यसमा हामीले देशको असहज स्थितिलाई हेरेर यो अन्तरिम सरकार बनाउन सहजीकरण गरेकै हो । तर फेरी यो सरकारले निर्वाचनको मिति सार्ने, यसलाई धकेल्ने काम ग¥योभने फेरि संविधान मिचिन्छ । यो काम गर्‍यो भने हामी चुप लागेर बस्ने छैनौं। शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरियोस । यदि त्यसो गरिएन भने, हामीमाथि खेलाची ठानियो भने यो शक्ति सडकमा आउनेछ । यसलाई कमजोरी नठानियोस् ।’

संयोजक दाहालले निर्वाचनलाई अघि बढाउने कुरामा कसैले पनि ब्यवधान खडा गर्न नहुने बताए ।

देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले देशको प्रधानमन्त्री भई देशको सेवा गर्ने चाहना रहेको बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित जेन–जीसँग अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि भाग लिने र जनताले विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने चाहना भएको बताए। तर तोकिएकै समय (फागुन २१) मा नेपालमा निर्वाचन हुनेमा उनले आशंका जनाए ।

सुशिला कार्की नेतृत्वको सरकारले निर्वाचन गर्नेकुरा कसैले नपत्याएको उनको भनाई छ । प्रहरी, कर्मचारीको मनोबल गिरेको, लुटिएका हतियार फिर्ता नभएको, निर्वाचनको लागि आवश्यक रकम नभएको कारण उल्लेख गर्दै उनले निर्वाचन हुनेमा शंका व्यक्त गरे। उनले सर्वपक्षिय अन्तरिम सरकार गठन गरेर अगाडी बढ्नुपर्नेमा पनि जोड दिए । सर्वसहमतिबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने उनको भनाई  छ। उनले जेन–जीको माग पनि प्रत्यक्ष निर्वाचित कार्यकारी नै भएको बताए।

उनले भने, ‘नेपालमा चुनाव हुन्छ कि हुन्न, एउटा शंका छ, सबैलाई । सुशीला कार्कीको सरकारको चुनावको कुरा पनि मान्छेले पत्याईरहेका छैनन् । पुलिसहरुको हतियार कति लुटियो भन्दाखेरी लगभग १६ सय हतियार लुटियो भन्नेछ । त्यो १६ सय हतियारहरु फिर्ता भएको छैन । प्रहरी साथीहरुसँग भेट हुँदा के भन्नुहुन्छ भने, चुनाव गर्न सक्नेगरि प्रहरीको मनोबल उठेको छैन ।’

उनले अन्तरिम सर्वपक्षिय सरकार बनाएर जेनजीका मागहरु सम्बोधन गर्नुपर्ने दोहोर्‍याए । साथै, नेपालमा एकचोटी प्रत्यक्ष चुनावबाट राष्ट्रपति चुन्ने या सबै जनताको भोटबाट प्रधानमन्त्री चुन्ने व्यवस्थातिर जानुपर्छ भन्ने जेन–जीको पनि आफ्नो पनि माग भएको बताए ।

यो पटकको चुनावमा आफ्नो पार्टी पनि सहभागी हुने उनले प्रष्ट पारे ।

बालेनलाई प्रचण्डको आग्रह, खुल्लामञ्च खुला गरौं

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले खुला मञ्च खुला गर्न सरकारसँग माग गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् । उनले एक लाख मानिस अट्ने मैदान नहुनु लज्जाको विषय भएको बताए। उनले एक लाख मानिसहरु राजनीतिक दलले उतारेर कार्यक्रम गर्न नपाउनु अपमानजनक विषय भएको बताए । काठमाडौं उपत्यकाका अन्य स्थानहरु राजनीतिक दलहरुलाई कार्यक्रम गर्न सानो भएको उनको भनाइ छ ।

उनले भने, ‘सबैभन्दा पहिला त म नेपाल सरकार र महानगरपालिकालाई यो खुलामञ्च खुला गर्नको लागि आग्रह गर्न चाहन्छु, जोडदार ढंगले सम्पूर्ण जनसमुदायको तर्फबाट तपाईंहरुलाई आग्रह गर्दछु । किनकी यो नेपाल राष्ट्रकै निम्ति अपमानको विषयको हो । एउटा एक लाख मानिस जम्मा भएर बस्ने चौर हामीकहाँ नहुनु नेपाल देशकै निम्ति लज्जाको विषय भएको छ । महानगरपालिकाको जिम्मेवारी लिएका प्रतिनिधि र सरकारलाई सबैभन्दा पहिला जोडदार माग गर्न चाहन्छु ।’

नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिन जनतासँग माधव नेपालको आग्रह

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई नेपाली जनताले बहुमत दिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभामा बोल्दै उनले यस्तो बताउका हुन् । सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टी जनताको सपना साकार पार्ने अभियानमा छ कि छैन ? भन्नेकुराको अग्नी परीक्षामा सहभागी हुन पनि आगामी निर्वाचनमा जनताले बहुमत दिएर जनताको सेवा गर्ने अवसर प्रदान गर्नुपर्ने जिकिर गरे । नेपाली जनताले आगामी निर्वाचनमा बहुमत दिए आफूहरुको जनताको सपना साकार पार्ने सहसंयोजक नेपालको दाबी थियो । उनले आफूहरुले इमान्दारिता, देशभक्ति र जनताको भावनाअनुसार अघि बढ्ने संकल्प लिएको समेत बताए ।
उनले भने, ‘नेपाली जनताले हामीलाई आउने चुनावमा विश्वास गरेर जिताएको खण्डमा बहुमत दिएको खण्डमा हाम्रो अर्को अग्नी परीक्षा शुरु हुन्छ । हामी साँच्चै जनताको सपनालाई साकार पार्नका लागि इमान्दारिताका साथ अगाडि बढेका छौ कि छैनौँ ? हामीलाई एक पटक तपाईहरुले मौका दिनुपर्ने हुन्छ । हामीले आजसम्म इमान्दारिताको राजनीतिलाई, देशभक्तिको भावनालाइ देश प्रेमको भावनालाई, जनताको सेवाको भावनालाई पूरा गर्ने आँट पनि गरिरहेका छौँ ।’
सहसंयोजक नेपालले आफ्नो पार्टी जेन–जी पुस्ता एकीकृत भएर आउने क्रम जारी रहेको समेत बताए ।

नयाँहरू मिल्छौं, मिलाएर लैजान्छौं: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं आइपुगेका छन् । सहकारी ठगीको अभियोगमा थुनामा रहेका लामिछानेलाई तुलसीपुर उच्च अदालतले धरौटीमा रिहा गरेको थियो । अदालती प्रकृया पुरा गर्न बुटवल गएका उनी आज चितवन हुँदै काठमाडौं फर्किएका हुन् ।

काठमाडौं आइपुगेपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर उनी समर्थकहरूले घेरिएका थिए । विमानस्थलबाहिर सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उनले नयाँ राजनीतिक शक्तिहरूलाई मिलाएर लैजाने बताए ।

आफूले जस्तोसुकै त्याग गरेर भए पनि सबैलाई मिलाउने उनले बताए ।

यसअघि चितवनको चौबिसकोठीमा पनि समर्थकहरूलाई सम्बोधन गर्दै उनले पार्टीको नाम, चुनावचिन्ह वा आफ्नो सभापित पद त्याग गरेर भए पनि नयाँहरूलाई एकजुट बनाएर चुनावमा लैजाने बताएका थिए । आफू सांसद वा मन्त्री नभए पनि भ्रष्टाचारको महल भत्काउन नयाँहरू मिलाउने बताएका हुन् ।

नेपाली फुटबलमा विदेशी लगानी: लुम्बिनी एकेडेमीलाई सिंगापुरको सहयोग

काठमाडौं । ‎सिङ्गापुरको फ्रेन्ज इन्टरनेसनल फुटबल एकेडेमी र लुम्बिनी फुटबल एकेडिमी दाङ्गबीच ग्रासरुट फुटबल विकासका लागि सम्झौता भएको छ । आज काठमाडौमा भएको एक कार्यक्रममा दुई एकेडेमीबीच एतिहासिक सम्झौता भएको हो ।

‎लुम्बिनी फुटबल एकेडेमीका सञ्चालक समीर ओलि र फ्रेन्ज इन्टरनेसनल फुटबल एकेडेमीको तर्फबाट कम्पनीकि डाईरेक्टर अस्मिता गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । कार्यक्रममा फ्रेन्जका मालिक सिङ्गापुर नागरिक डेल्भिन एस्पिको समेत उपस्थिती रहेको थियो ।

‎सन्चालक समीर ओलीको व्यक्तिगत लगानीमा आवासीय सुविधा सहित आफ्नै खेल मैदानमा २०८० देखि दाङ्गको घोराहीमा लुम्बिनी फुटबल एकेडेमीले  सञ्चालन भइरहेको छ । हाल आवसमा २९ जना खेलाडीहरु रहेका छन भने ६ जना विपन्न तथा दलित सामुदाएका खेलाडीहरुको पालन पोषणदेखि शिक्षामा समेत ओलीले आफ्नै व्यक्तिगत खर्चमा संरक्षण गरिरहेका छन् ।

‎यता सन २०१२ देखि सिङ्गापुरमा रहेर फ्रेन्ज इन्टरनेस्नल फुटबल एकेडेमीले निरन्तर रुपमा मलेसिया, इन्डोनेसिया लगायतका मुलमा समेत सकृएता जनाइराखेको छ । क्लबले त्यहाँका डिभिजन लिगहरुमा समेत प्रतिस्पर्धा गरिरहेको छ , जसको संरक्षकका रुपमा सिङ्गापुरका पुर्व मुख्य प्रशिक्षक जितासि‌ंह रहेका छन् ।

‎सम्झौता सँगै अब लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्ज इन्टरनेस्नल फुटबल एकेडेमीले नेपाली फुटबल वृत्तमा लुम्बिनी फ्रेन्ज फुटबल क्लबका रुपमा प्रतीनिधित्व गर्नेछ ।

‎सम्झौता अनुरुप फ्रेन्ज इम्टरनेसनल फुटबल एकेडेमीले लुम्बिनी फुटबल एकेडेमीलाई अर्थिक, प्राविधिकका साथ साथै व्यावसायिक रुपमा समेत सहयोग गर्नेछ । जसमा पहिलो चरणमा दाङ्गको घोराहीमा रहेको लुम्बिनी फुटबल एकेडेमीको भौतिक स्तरोन्नति गर्ने र त्यसलाई केन्द्रीय कार्यालयका रुपमा स्थापीत गर्नेछ । लगत्तै अर्को चरणमा सोही मोडालिटी अनुरुप देशैभर प्रादेशिक रुपमा अन्य संरचना बिस्तार गर्ने उदेश्य यी दुवैले लिएका छन् ।

‎प्राविधिक तर्फ नेपाली ग्रासरुट फुटबलमा पहिलो पटक एआई प्रविधीको प्रयोगका निमित्त सिङ्गापुरबाट आवस्यक उपकरणहरु उबलब्ध हुनेछन् । फ्रेन्ज इन्टरनेस्नल फुटबल एकेडेमीका मालिक डेल्भिन एस्पि अफैंमा एक एआई सफ्ट्वेर कम्पनी सिक्थ सेन्सको प्रबन्धक रहिसकेकाले उनले उक्त प्रविधिको प्रयोगले फुटबल खेलाडीको प्रदर्शनलाई निरीक्षण गर्ने र त्यस सम्बन्धी सबै डेटाहरुलाई अध्य्यन गरेर उक्त प्रविधिले खेलाडीको विकासमा टेवा पुग्ने विश्वास राखिएको छ ।

‎सिङ्गापुर र नेपाली फुटबलबीच भएको यो सम्झौताले दुई देशबीचको पारस्परिक सम्बन्ध समेत कायम राख्ने अपेक्षा गरिएको छ । पछिल्लो समय नेपाली फुटबलमा नकारात्मकता छाइरहेको बेला भएको यो सम्झौताले विदेशी लगानीकर्तालाई समेत नेपालमा फुटबलमा लगनी गर्न सकिन्छ भनेर सकारात्मक सन्देश प्रवाह गरेको छ।

‎लुम्बिनी फ्रेन्ज फुटबल क्लबले नेपालकै फुटबल संरचनाभित्र बसेर घरेलु प्रतियोगितादेखि राष्ट्रिय लिगसम्म आफ्नो उपस्थिति जनाउने लक्ष राखेका छन् । सम्झौता पछिको पहिलो पाइलाका रुपमा यी दुवैले नेपालको मोफसल फुटबलकै सर्वाधिक लोकप्रीय मध्येको एक प्रतियोगितामा भाग लिनेछ । जहाँ सिङ्गापुर राष्ट्रिय फुटबल  टिमका पूर्व मुख्य प्रशिक्षक जितासिंहको प्रशिक्षणमा त्यहाँका राष्ट्रिय खेलाडीहरु समेत लिएर प्रतियोगितामा सहभागिता जनाउनेछ ।

गाजा क्षेत्रमा गम्भीर खाद्य सङ्कटको जोखिम

गाजा ।  संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा रहेको चेतावनी दिएका छन् । उनले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै बताएका छन्, ‘ हालको परिस्थितिमा अकाल केही हदसम्म टालिएको छ र धेरै मानिसहरूले जीवित रहन आवश्यक खाना प्राप्त गर्न सक्षम भएका छन् ।’ संयुक्त राष्ट्र र उसका साझेदार संस्थाहरूले दैनिक रूपमा लाखौँ मानिसलाई तातो भोजन उपलब्ध गराइरहेका छन् र सम्पूर्ण गाजामा खाद्य सहायता वितरण गरिरहेका छन् ।

महासचिव गुटेरेसले भनेर्, स्वच्छ पानी थप समुदायसम्म पुग्न थालेको छ, केही स्वास्थ्य सेवा केन्द्रहरू पुनः सञ्चालनमा आएका छन् । उनले यस सुधारको श्रेय मानवीय कामदार, सदस्य राष्ट्र र नागरिक–सैन्य समन्वय केन्द्रबीचको सहकार्यलाई दिएका छन् । तर उनले सावधानीका साथ यी उपलब्धिहरू अझै नाजुक छन् र जोखिमपूर्ण अवस्थामा रहेको उल्लेख गरेका छन् ।

गुटेरेसका अनुसार अक्टोबरदेखि संयुक्त राष्ट्रले सेवा निरन्तर सञ्चालनमा राख्ने प्रयास गरिरहेको छ, तर आवश्यकताहरूको वृद्धि सहयोगको क्षमता भन्दा छिटो भइरहेको छ । महासचिवले दीर्घकालीन युद्धविराम आवश्यक भएको र थप प्रवेश नाका खोल्ने, अत्यावश्यक सामग्रीमाथि लगाइएको प्रतिबन्ध हटाउने, प्रशासनिक झन्झट कम गर्ने, गाजाभित्र सुरक्षित आवागमन सुनिश्चित गर्ने, दीगो वित्तीय सहयोग सुनिश्चित गर्ने र अवरोधरहित मानवीय पहुँच प्रदान गर्ने आवश्यकता औँल्याएका छन् ।

त्यसैगरी, उनले पश्चिमी किनारामा पनि अवस्था संवेदनशील रहेको र त्यहाँ प्यालेस्टिनीहरूले बढ्दो हिंसा, जमिन कब्जा, घर भत्काइ र कडा आवागमन प्रतिबन्धको सामना गरिरहेको बताएका छन् । उनले कब्जामा रहेका प्यालेस्टिनी भूभाग, पूर्वी यरूशलेमसहित, अन्तर्राष्ट्रिय कानुन, मानवीय कानुन र मानवअधिकार कानुनको पूर्ण पालना हुनुपर्नेमा जोड दिएका छन् ।

महासचिव गुटेरेसले अन्तर्राष्ट्रिय न्यायालयको सन् २०२५, अक्टोबर २२ को सल्लाहात्मक मतको स्मरण गर्दै भनेका छन्र्, इजरायलले मानवीय सहायता सहज रूपमा प्रवेश गराउने, संयुक्त राष्ट्रसँग सहकार्य गर्ने र सशस्त्र द्वन्द्वको अवस्थामा समेत संयुक्त राष्ट्र र उसका कर्मचारीको अधिकार र सुरक्षा सम्मान गर्नुपर्छ । यी दायित्वहरू बाध्यकारी छन् र तुरुन्त कार्यान्वयन हुनुपर्छ । यो सङ्कट मानवीय निर्णयबाट उत्पन्न भएको हो, र राजनीतिक इच्छाशक्ति भएमा यसको समाधान सम्भव छ ।’

चितवनबाट रवि लामिछानेको सन्देश: निर्वाचनको विकल्प छैन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजीहरूको एक थोपा रगत खेर जान नदिने उद्घोष गरेका छन् । सहकारी ठगीको अभियोगमा थुनामा रहेका लामिछानेले थुनामुक्त भएपछि पहिलोपटक सार्वजनिक सम्बोधन गरेका हुन् ।

चितवनको चौबिसकोठीमा भेला भएका समर्थकहरूलाई सम्बोधन गर्दै उनले सेना र न्यायालयप्रति भरोसा व्यक्त गरे भने  सरकारलाई आफ्नो साथ रहेको बताए । ‘जेनजीका माग पुरा गर्ने र निर्वाचन गर्ने कुरामा सरकारको पक्षमा रास्वपा सतिसाल बनेर खडा हुने छ,’ लामिछानेले भने, ‘सरकारले खुट्टा कमाउनु पर्ने केही पनि छैन ।’

उनले भदौ २३ गते सरकारले युवाहरूको आन्दोलनमा दमन गरेकाले २४ गते जनआन्दोलन भएको दाबी गरे ।

उनले निर्वाचनको विकल्प नभएको पनि बताए । ‘म लोकतन्त्रमा विश्वास गर्छु,’ उनले भने, ‘मलाई लोकतान्त्रिक प्रकृयाबाट नै न्याय मिल्नेमा विश्वास छ । मलाई लोकतन्त्रले अन्याय गरेको होइन, अपराधिहरूले अन्याय गरेका हुन् ।’

प्रतिशोधको राजनीति नगर्ने उल्लेख गर्दै उनले भ्रष्टाचारको महल ढालेरै छोड्ने उद्घोष गरे । ‘हामी भ्रष्टाचारको महल ढालेरै छोड्छौं,’ उनले भने, ‘हेलिकोप्टरमा झुन्डिएर भाग्नेहरूसँग म डराएर भाग्दिनँ ।’

जनताका मुद्धा बोकेर हिड्दा कहिले सिंहदरबार पुगिन्छ, कहिले नख्खु भन्दै आफू हतोत्साहित नभएको सन्देश उनले दिएका छन् ।

 

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्यमा भयो विस्तार

टोकियो । जापानले मध्ये एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले यस क्षेत्रमा आफ्नो सकारात्मक उपस्थिति र सहयोग विस्तार गर्ने प्रयासको रूपमा लिएको हो ।  प्रधानमन्त्री सानाए ताकाइचीले टोकियोमा पाँच मध्य एसियाली राष्ट्रका नेताहरूसँग पहिलो शिखर सम्मेलन आयोजना गरेकी छिन् । बैठकपछि जारी संयुक्त वक्तव्य अनुसार जापानले मध्ये एसियामा पाँच वर्षभित्र कुल तीन करोड येन बराबरका व्यापार परियोजनाको लक्ष्य तय गरेको छ । जापानले दुर्लभ धातु आपूर्ति विविधिकरण गर्न र चीनमा निर्भरता कम गर्न यस क्षेत्रमा लगानी गर्न इच्छुक छ ।

वक्तव्यमा उल्लेख छ,‘ प्राकृतिक स्रोत र ऊर्जा स्रोतले धनी मध्ये एसियाले अन्तर्राष्ट्रिय बजारसँग पहुँच विस्तार गर्नु महत्वपूर्ण छ ।’
नेताहरूले महत्त्वपूर्ण धातु आपूर्ति श्रृङ्खला सुदृढीकरणका लागि सहयोग बढाउने, आर्थिक विकास प्रवद्र्धन गर्ने र वातावरणीय लक्ष्यहरू प्राप्त गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । साथै, उनीहरूले रूस, चीन र युरोपेली सङ्घका शीर्ष नेतासँग यस वर्ष अलग–अलग शिखर सम्मेलन पनि गरेका छन् । विशेषज्ञहरूले यस शिखर सम्मेलनलाई जापानको क्षेत्रीय उपस्थिति बलियो बनाउन महत्वपूर्ण कदमको रूपमा मूल्याङ्कन गरेका छन् ।

मध्ये एसियाका राष्ट्रहरू प्राकृतिक स्रोतमा धनी भए पनि आर्थिक अवस्थाका कारण यी स्रोतहरूको उपयोग चुनौतीपूर्ण रहिरहेकाले सहकार्य र समन्वय को आवश्यक रहेको छ ।

धमाधम हुँदैछ मुग्लिन-पोखरा सडक बिस्तार

मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम तीव्र गतिमा भइरहेको छ । हालसम्म यो खण्डको भौतिक प्रगति ६९.९६ प्रतिशत र वित्तीय प्रगति ६५.२६ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।
कुल ३८.७१ किलोमिटर रहेको यस सडक खण्डको हाल सम्म सम्पन्न गरीएको कार्य अन्तर्गत पुल बाहेक कुल ३८ कि.मी. खण्डमा प्रथम तहको कालोपत्रे कार्य सम्पन्न भई सकेको छ भने (३३.२ कि.मी. खण्डमा दुई तर्फी कालोपत्रे (चार लेन), ४.८ कि.मी. खण्डमा एकतर्फी कालोपत्रे (दुई लेन)) ५१.३ कि.मि. (दुई लेन) दोस्रो तह (अस्फाल्ट) कालोपत्रे, सर्विस लेन कालोपत्रे ५ कि.मि. त्यस्तै गरी १२ वटा पुल मध्ये ११ वटा सम्पन्न भएको छ र १०५ वटा कल्भर्ट मध्ये १०५ वटा नै सम्पन्न भई सकेको आयोजनाका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले जानकारी दिए ।
यो परियोजना वि.सं २०७८ भदौमा सुरु भएको हो। ठेक्का म्याद आगामी पुससम्म कायम रहेको छ । तर, निर्माण कम्पनीले समयमा काम सम्पन्न नगरेपछि यसअघि दुईपटकसम्म म्याद थपिएको इन्जिनियर कुँवरले बताए । अहिले चिनियाँ निर्माण कम्पनी अनहुइ काइयुयान रोड एन्ड ब्रिज कन्स्ट्रक्सनले काम अघि बढाइरहेको छ ।
सडक विस्तारसँगै पुल र कल्भटको निर्माण पनि प्रायः सम्पन्न भइसकेको छ । पश्चिम खण्डमा पर्ने १२ पुलमध्ये ११ पुल निर्माण भइसकेका छन् भने एक पुल निर्माणाधीन छ । १०५ वटा कल्भटको निर्माण कार्य भने पूरा भइसकेको इन्जिनियर कुँवरले जानकारी दिए  ।  तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सम्पन्न भइसकेको छ भने कास्कीस्थित सेती नदीमा बन्ने पुल निर्माण चरणमा छ । सो पुलको भौतिक प्रगति ५३.४५ प्रतिशत र वित्तीय प्रगति ५१.६३ प्रतिशत पुगेको छ ।
यो खण्डको ठेक्का रकम सात अर्ब ४० करोड रुपैयाँ रहेको छ। मुग्लिन–पोखरा सडकलाई स्तरोन्नत गरी सुरक्षित, दिगो र द्रुत यातायात प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य सहित काम सम्पन्न हुने चरणमा रहेको छ । तनहुँको आँबुखैरेनीदेखि पोखरा पृथ्वीचोकसम्मको करिब ८० किलोमिटर लामो खण्डलाई दुई भागमा विभाजन गरिएको छ-पूर्वी खण्ड (आँबुखैरेनी–जामुने) र पश्चिम खण्ड (जामुने–पोखरा)। दुवै खण्डमा चार लेनको सडक विस्तार भइरहेको छ ।
 

मानविय र आर्थिक पुनर्निर्माणमा आईएमएफको श्रीलङ्कालाई सहयोग

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्वीकृत गरेको छ । आईएमएफका अनुसार यो सहयोग ‘रैपिड फाइनान्सिङ इन्स्ट्रुमेन्ट’ अन्तर्गत प्रदान गरिएको हो, र यो श्रीलङ्काको कोटा रकमको करिब २६ प्रतिशत बराबर छ ।

आईएमएफका उप–प्रबन्धक र कार्यवाहक अध्यक्ष केन्जी ओकामुराले बताएका छन्,‘यसले श्रीलङ्कामा तत्कालै मानविय र पुनर्निर्माण आवश्यकताहरू व्यवस्थापन गर्न मद्दत गर्नेछ, जसले राजकोषीय दबाब र भुक्तानी सन्तुलन सम्बन्धी चुनौतीहरू कम गर्ने अपेक्षा गरिएको छ ।’

ओकामुराले आपतकालको समयमा छिटो प्रतिक्रिया देखाएको श्रीलङ्काली सरकारको प्रशंसा गर्दै भने,‘आईएमएफ यस कठिन परिस्थितिमा श्रीलङ्काली जनतासँग खडा छ र भविष्यमा पनि देशको पुनर्निर्माण र आर्थिक सुधार प्रयासमा समर्थन जारी राख्नेछ ।’

ओलीसहित एमालेको निर्वाचित नेतृत्वलाई विद्याले दिइन् बधाई

काठमाडौ‌ं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलगायत पदाधिकारी र सदस्यलाई बधाइ दिएकी छिन् ।

एमाले पूर्व उपाध्यक्षसमेत रहेकी भण्डारीले लोकतान्त्रिक प्रतिस्पर्धाका माध्यमबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नु आफैँमा एमालेको सङ्गठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज)को जीवन्त अभ्यास भएको टिप्पणी गरिन् ।

‘यस महाधिवेशनमा विचार, निष्ठा र पद्धतिप्रति प्रतिबद्ध रहँदै प्रतिस्पर्धामा सहभागी हुनुभएका सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति पनि हार्दिक धन्यवाद, लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक र आवश्यक प्रक्रिया हो, जसले संस्थालाई थप सुदृढ र जीवन्त बनाउँछ’, पूर्वराष्ट्रपति भण्डारीले जारी गरेको सन्देशमा भनिएको छ, ‘निर्वाचित नयाँ नेतृत्वले पार्टीले अवलम्बन गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’को मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र सङ्गठनात्मक एकतालाई अझ सुदृढ बनाउँदै पार्टीलाई अघि बढाउने विश्वास लिएको छु ।’

रवि काठमाडौं आउँदै, कुलमान पुगे चितवन

थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछाने आज चितवनबाट काठमाडौं फर्किँदै छन् भने भौतिक पूर्वाधार तथा ऊर्जा मन्त्री कुलमान घिसिङ चितवन पुगेका छन् ।

सहकारी ठगीको अभियोगमा थुनामा रहेका लामिछानेलाई तुलसीपुर उच्च अदालतले धरौटीमा रिहाइ गरेको थियो । प्रक्रिया पुरा गरेपछि उनी चितवन पुगेका थिए ।

चितवनमा कार्यकर्ता तथा समर्थकसँग भेटघाट गरेपछि उनी काठमाडौं फर्किन लागेका हुन् ।

मन्त्री घिसिङ भने उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेलालाई सम्बोधन गर्न चितवन जान लागेका हुन् । शनिबार हुने भेलाका लागि उनी शुक्रबार नै चितवन पुगेका थिए ।

नेकपाले तोक्यो उम्मेद्वारको मापदण्ड, यस्ता छन् शर्त

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोटमा नयाँ मापदण्ड लागू गरेको छ । पार्टीको आन्तरिक परिपत्रमा उम्मेदवारहरूले कानूनी, आर्थिक, सामाजिक र वैचारिक रूपमा पूर्ण स्वच्छ हुनुपर्ने स्पष्ट उल्लेख गरिएको छ । परिपत्रअनुसार प्रतिनिधि सभाका उम्मेदवारले २५ वर्ष र राष्ट्रिय सभाका उम्मेदवारले ३५ वर्ष उमेर पूरा गरेको नेपाली नागरिक हुनुपर्नेछ भने मतदाता नामावलीमा नाम दर्ता भएको र संविधान–कानूनले अयोग्य ठहर्‍याएको हुन नहुने प्रावधान छ । बहालवाला राष्ट्रिय सभा, प्रदेश सभा वा स्थानीय तहका पदाधिकारीलाई उम्मेदवारीबाटै वञ्चित गरिएको छ ।

आर्थिक पारदर्शितालाई पार्टीले विशेष जोड दिएको छ । भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहरिएका व्यक्ति उम्मेदवार बन्न अयोग्य हुनेछन् । कर–राजश्वमा पूर्ण अद्यावधिक, कालो सूचीमा नाम नभएको र सम्पती तथा आयस्रोतको स्पष्ट घोषणा गर्न तयार हुनुपर्ने अनिवार्य शर्त राखिएको छ । पार्टीको आर्थिक अनुशासन उल्लंघन गर्नेहरू पनि उम्मेदवारीबाट बाहिरिनेछन् । सामाजिक आचरणमा पनि कुनै सम्झौता नगर्ने नीति अवलम्वन गरिएको छ ।

जातीय–लैंगिक भेदभाव, घरेलु हिंसा, यौन उत्पीडन, मानव बेचबिखनजस्ता मुद्दामा दोषी ठहरिएका व्यक्ति पार्टीबाट उम्मेदवार बन्न नपाउने भएका छन् । राजनीतिक रूपमा पार्टीको नीति–कार्यक्रमप्रति पूर्ण प्रतिवद्धता, आन्दोलनमा निरन्तर योगदान, सामाजिक प्रतिष्ठा र जनतामा लोकप्रियता उम्मेदवारका लागि अनिवार्य मापदण्ड तोकिएका छन् । उम्मेदवार सिफारिस गर्दा विषयगत विज्ञता, नीति निर्माण क्षमता र सार्वजनिक संवाद कौशललाई पनि आधार बनाइनेछ ।

प्रत्यक्षतर्फ प्रत्येक क्षेत्रबाट कम्तीमा एक युवा र एक महिलासहित बढीमा पाँच जना सिफारिस गर्नुपर्ने व्यवस्था छ भने जित्ने सम्भावना भएका लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिन निर्देशित गरिएको छ । समानुपातिकतर्फ महिला, दलित, जनजाति, मधेसीलगायत क्लस्टरलाई अनिवार्य समेट्दै शहीद–बेपत्ता परिवार, द्वन्द्वपीडित र विपन्न वर्गलाई विशेष प्राथमिकता दिनुपर्नेछ ।

एकै परिवारबाट एकभन्दा बढी व्यक्ति सिफारिस गर्न पूर्ण प्रतिवन्ध लगाइएको छ । राष्ट्रिय सभातर्फ प्रदेश स्तरबाट प्रत्येक क्लस्टरका लागि बढीमा पाँच–पाँच जना सिफारिस गर्ने प्रावधान राखिएको छ । पार्टी नेतृत्वले यो मापदण्ड कडाइका साथ कार्यान्वयन गर्दै स्वच्छ र जनमुखी उम्मेदवार मात्र मैदानमा उतार्ने प्रतिवद्धता जनाएको छ । यो कदमले निर्वाचनमा पार्टीको छवि थप बलियो हुने अपेक्षा गरिएको छ । परिपत्र सबै तहका कमिटीहरूसम्म पुगिसकेको नेकपाले बताएको छ ।

विद्रोहपछि अस्थिरताको बाटोमा बंगलादेश

२०२४मा भएको मनसुन विद्रोहको नेतृत्व गरेका विद्यार्थी नेता ओस्मान हादीको हत्यापछि बंगलादेश फेरि अशान्त बनेको छ । देशका विभिन्न स्थानमा हिंसा भड्किएको छ । लुटपाट, तोडफोड र आगजनीका घटना देशका विभिन्न भागमा फैलिइरहेका छन् । यसले, फ्रबुअरीका लागि तोकिएको निर्वाचन समेत अनिश्चित बनेको छ । मनसुन विद्रोहपछि उत्पन्न राजनैतिक अस्थिरता र संवैधानिक संकटबीच चुनाव हुने मिति नजिकिँदै गर्दा बंगलादेशमा स्थिरताको आशा जाग्न थालेको थियो । तर, हादीको हत्यापछि त्यो आशामाथि तुषारापात हुने हो कि भन्ने त्रास बढेर गएको छ ।

विद्रोहपछिको संक्रमणकाल व्यवस्थापन गर्न नसक्दा बंगलादेश आन्तरिक रूपमा राजनैतिक अस्थिरको चक्रव्युहमा फस्दै गएको छ । अर्कातिर, विगतमा हासिल गरिएको आर्थिक बृद्धिको बाटोमा फर्कने ढोकाहरू बन्द हुँदै गएका छन् । साथै, बाह्य रूपमा भूराजनीतिक संकटमा फस्दै गएको छ ।

सदियौंको औपनिवेशिक शोषण र हिंसाको चक्रव्युहबाट बंगलादेश भर्खरै बाहिर निस्किने प्रयासमा थियो । दक्षिण एसियाको मध्यकालिन इतिहासमा ज्ञान, दर्शन र संस्कृतिको केन्द्र बनेको बंगाललाई बेलायतीहरूले सुरूमै उपनिवेश बनाए । उपनिवेश बनाएर उनीहरूले बंगालको स्रोतसाधन मात्रै लुटेनन्, बंगालबाटै सिंगो दक्षिण एसियामा धार्मिक हिंसाको बिउ पनि रोपे । सन् १९०५को बंगभंग अर्थात् बंगाल विभाजनले यसैको घोषणा मात्रै थियो ।

सन् १९४७मा भारत र पाकिस्तान स्वतन्त्र भए तर बंगलादेशमाथि औपनिवेशिक शासन कायमै रह्यो । बंगभंगपछि पूर्वी बंगाल बनेको आजको बंगलादेश स्वतन्त्रतापछि पूर्वी पाकिस्तान बन्यो । तर, यहाँ इस्लामावादको उपनिवेश सुरू भयो । आर्थिक शोषण र भाषिक-सांस्कृतिक उत्पीडनको चपेटामा पर्‍यो । भाषा आन्दोलनबाट छेडिएको क्रान्तिले सन् १९७१मा बंगलादेशलाई पाकिस्तानबाट मुक्त गर्‍यो र स्वतन्त्र राष्ट्र बनायो । यसरी बंगलादेश दक्षिण एसियाको सबैभन्दा कान्छो राष्ट्र बन्यो ।

पाँच शताब्दीको आर्थिक लुट र तीन शताब्दीको औपनिवेशिक शासनले बंगलादेको मौलिक आर्थिक संरचना ध्वस्त भएको थियो भने स्वशासनको जग पनि छिन्नभिन्न भएको थियो । यस्तो परिस्थितिमा लोकतान्त्रिक प्रणालीभित्र स्वराजको लय समात्न समय लाग्ने कुरा अपेक्षाकृत थियो । सानो क्षेत्रफलमा अथाह जनसंख्या अँटाएको देशलाई भोकमरी र चरम गरिबीबाट बाहिर निस्किनु पर्ने चुनौति पनि उत्तिकै थियो ।

२१औं शताब्दीमा स्वतन्त्रता नायक मुजिबुर रहमानकी पुत्री शेख हसिनाको शासनमा उदय पछि बंगलादेशले अकल्पनीय आर्थिक बृद्धिदर समात्यो । हसिना शासनमा बंगलादेशको आर्थिक बृद्धिदर नेपालमा बेलबेला बाबुराम भट्टराईले भन्नेजस्तो भ्यागुत्ते उफ्राइ नै थियो । बंगलादेशको आर्थिक बृद्धि नेपालजस्ता साना दक्षिण एसियाली मुलुकलाई सन्देश र प्रेरणा पनि थियो ।

सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र हुँदा बंगलादेशको कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी) ८ अर्ब अमेरिकी डलर र प्रतिव्यक्ति आय १२८ अमेरिकी डलर थियो । सन् २००९ मा हसिनाले दोस्रोपटक सत्ता सम्हाल्दा जीडीपी ५० अर्ब र प्रतिव्यक्ति आय ४०० डलर थियो ।

डेढ दशकपछि सन् २०२३ मा बंगलादेशको जीडीपी ४ खर्ब ६० अर्ब डलर पुग्यो भने प्रतिव्यक्ति आय २ हजार ५ सय २८ डलर पुग्यो । पछिल्ला केही वर्षमा यहाँ लगातार दोहोरो अंकको आर्थिक विकास भइरहेको थियो । विज्ञहरूले यस प्रकारको तीव्र आर्थिक विकास कम्तीमा पनि सन् २०२९ सम्म रहने प्रक्षेपण गरेका थिए । यस्तो चामत्कारिक आर्थिक वृद्धिले बंगलादेशमा गरिरहेको रोजगारी सिर्जना अभूतपूर्व थियो । बंगलादेशको चरम गरिबी देखेकै पुस्ताले अहिले सम्पन्नतातिरको यो तीव्र दौड पनि देखिरहेको थियो ।

विद्रोहबाट उदाएका युवा नेता ओस्मान हादी, केही दिन अघि उनको गोली हानेर हत्या गरियो ।

नातावाद-कृपावाद, चरम भ्रष्टचार तथा विपक्षी र आलोचकमाथिको चरम दमनले उनको समयमा भएको आर्थिक प्रगतिलाई ओझेलमा पार्‍यो । हसिनाले आफूलाई प्रधानमन्त्री नभएर बेगमका रुपमा देख्न थालिन् । नातावाद र कृपावादको जगमा चरम भ्रष्टाचार मौलाइरहेको थियो, जसको फाइदा उनको पार्टी अवामी लिग भित्रका सिमित व्यक्तिहरूले उठाइरहेका थिए ।

सन् १९७१ को आन्दोलनका स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिइएको आरक्षणविरुद्ध केही वर्षदेखि विद्यार्थीहरू प्रदर्शन गरिरहेका थिए र समयसमयमा त्यहाँको सत्ताले प्रदर्शनकारीमाथि अनावश्यक रूपमा बढी बल प्रयोग गरिरहेको थियो । हसिना सरकारले आन्दोलनमाथि जति दमन गर्दै जान्थ्यो, आन्दोलन त्यति चर्किँदै थियो । यही आन्दोलन नै गएको वर्ष जनविद्रोहमा रूपान्तरण भयो । शेख हसिना देश छोडेर भारतमा शरण लिन बाध्य भइन् ।

यसपछि बंग्लादेशमा अमेरिका र पश्चिमा शक्तिहरूसँग निकट रहेका नोबल पुरस्कार बिजेता मोहम्मद युनुसको नेतृत्वमा सरकार बन्यो । यो सरकारलाई ९० दिनभित्र संविधान सभाको चुनाव गराउने म्यान्डेट दिइएको थियो । तर, सरकारले अहिलेसम्म चुनाव गराउन सकेको छैन ।

आन्दोलनका क्रममा बंगलादेशका स्थापित मानकहरू भत्काइको छ । आन्दोलनमा निस्किएका युवाले भ्रष्टाचारको अन्त्य र पारदर्शिता तथा अवसरको समान वितरण चाहेको थिए । उनीहरूले लोकतन्त्रको सुनिश्चितता मागको थिए । तर, अतिवादी शक्तिहरू हाबी भएपछि अब बंगलादेश कुन बाटोमा जान्छ भन्ने अनिश्चित बनेको छ । युवाहरूको चाहनामाथि कुठाराघात भएको छ। भूराजनीतिक खिचातानीले अझ जटिलता बढाउँदै लगेको छ ।

बंगलादेशले भन्दा दुई वर्षअघि यस्तै विद्रोह भोगेको छिमेकी मुलुक श्रीलंका समयमा चुनाव गरेर अहिले स्थिरताको बाटोमा अगाडी बढेको छ । संवैधानिक फेरबदल र राजनैतिक दाउपेचमा फसेको बंग्लादेश अनिश्चितताको सुरूङमा धकेलिँदै गएको छ । नेपालले यी दुवै उदाहरणलाई नजिकबाट नियाल्न जरूरी छ ।

१४ खेलाडीलाई एनओसीको छात्रवृत्ति, आठ खेलाडीले मासिक १,१२५ सय डलर पाउने

काठमाडौं । आगामी एसियन गेम्स र लस एञ्जलस ओलम्पिकको तयारीका लागि विभिन्न आठ खेलका १४ जना खेलाडीले छात्रवृत्ति पाउने भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शुक्रबार पत्रकार सम्मेलनमार्पmत विभिन्न खेलका १४ खेलाडीलाई छात्रवृत्ति दिने जनाएको हो । एनओसीले ब्याडमिन्टन, उसु, साइक्लिङ, टेबल टेनिस, टेनिस, जुडो, स्पोट्र्स क्लाइम्बिङ र पौडीका खेलाडीलाई छात्रवृत्ति दिने भएको छ ।

एनओसीले लस एञ्जलस ओलम्पिकका लागि ८ जना, आइची नागोया एसियन गेम्सका लागि पाँच जना र युथ गेम्सको लागि उसुकी रश्मि घिसिङलाई छात्रवृत्ति प्रदान गरेको छ। एनओसीले छात्रवृत्ति प्रदानका गरेको खेलमध्ये टेबल टेनिस, टेनिस, पौडी र साइक्लिङमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी समानान्तर दुई संघका छन् । एनओसीको छात्रवृत्ति पनि विवादमा परेका खेल संघहरू नै प्राथमिकतामा देखिएको छ । एनओसीले शुक्रवार भएको कार्यक्रममा खेलाडी, परिवार र सम्बन्धित संघसँग सम्झौता गरेको हो ।

लस एञ्जलस ओलम्पिकको लागि ब्याडिन्टनका प्रिन्स दाहाल, साइक्लिङकी उषा खनाल, गल्फका सद्भाव आचार्य, जुडोकी मनिता श्रेष्ठ प्रधान, टेबल टेनिसकी इभाना थापा, टेनिसकी सिभाली थापा, स्पोट्र्स क्लाइम्बिङकी तेन्जिङ राई र पौडीका एर्भिन श्रेष्ठ छन् । यी खेलाडीले संघमार्फत हरेक चौमाषिकमा अमेरिकी डलर १,१२५ पाउने छन् । आगामी एसियन गेम्सको लागि आर्चरीका तिलक पुनमगर, बक्सिङका चन्द्रबहादुर थापा, करातेकी एरिका गुरुङ र सानुमाया थिङ तथा उसुकी सुस्मिता तामाङ छन् । एशियन गेम्स र युथ ओलम्पिकका खेलाडीले भने ५० हजार रुपैया पाउने एनओसीका महासचिव राजीव श्रेष्ठले जानकारी दिए ।

 

 

 

निर्वाचनसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी भएको हो । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

हिजो बसेको क्याविनेट बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । २०७८ को जनगणनाअनुसार दलित, आदिवासी, खस आर्य, मधेशी, थारु, मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसूची १ संशोधन गर्न सरकारले यो अध्यादेश ल्याएको हो ।

राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायो : मुख्यमन्त्री बानियाँ

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राज्यले निर्माण व्यवसायीमाथि आतंक बढाएको टिप्पणी गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित वागमती प्रदेश निर्माण व्यवसायी महासंघको पाँचौ वार्षिक साधारण सभामा बोल्दै उनले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री बानियाँले विकास, निर्माणको कार्यलाई अघि बढाउने नाममा स्टन्टबाजी नगर्न पनि तीन वटै तहका सरकारले सचेत गराए । उनले विधि र प्रक्रिया नपुर्‍याई टेन्डर आह्वान गर्ने कामले पनि विकास, निर्माणको कामले गति लिन नसकेको बताए । मुख्यमन्त्री बानियाँले निर्माण व्यवसायीहरुलाई बैंकहरु पनि पछिल्लो समय दुःख दिने गरेको समेत बताए ।

उनले भने, ‘निर्माण व्यवसायीमाथि अहिले समय समयमा राज्यको आतंक बढेको छ । एउटा मानवीय व्यवहार पनि नरहेको अवस्था छ । कहीँ निर्माण व्यवसायीहरुको आफ्नो त्रुटी होला । कहीँ राज्यको त्रुटी होला । दुवै पक्षको त्रुटीलाई सुधार गरेर देश, प्रदेश र स्थानीय तहलाई तीन तहको सरकारले गर्ने कार्य र टेन्डर प्रक्रियालाई व्यवस्थित गरेर लैजानु पर्दछ । देश स्टन्टबाजीले चल्दैन ।’

उनले भने, ‘विधिको शासन र कानूनी राज्य छ देशमा । कानूनलाई परिमार्जन गरौ । तर स्टन्टबाजीलाई बन्द गरौँ । निर्माण व्यवसायीहरुले विभिन्न ठाउँमा दुःख पाएको अवस्था छ । कहीँ निर्माण व्यवसायीहरुको कमजोरी होला । देशको मन्त्री, प्रधानमन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्री, चाहे गाउँपालिकाका अध्यक्ष जो कसैलाई पनि आफनो काम देखाउनुछ भनेर भटाभट टेण्डर निकाल्ने काम पनि गर्नु हुँदैन ।’ मुख्यमन्त्री बानियाँले प्रधानमन्त्री, मन्त्रीले समेत आफूले काम गरेको देखाउनका लागि गैरकानूनी ढंगले टेन्डर आह्वान गर्नेलगायतका कामहरु गरिरहेको भन्दै आपत्ति जनाए ।

‘केपी ओलीले विरोध गर्नुपर्ने काम नै गर्दैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि विरोध हुनेगरी कुनै कामै नगरेको दावी गरेका छन् । नव निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जारी बैठकमा ओलीले सम्बोधन गर्दै गर्दा एकजना नेताको मोबाइल फोन बजेपछि ओलीले झपार्दै भने– ‘म अनुशासनकै कुरा गरिरहेको छु । बैठकभित्र मोबाइल बज्नु हुँदैन । आलोचनात्मक चेत हराएका झोलेहरू एमालेमा बस्छन् । खोई बोलेका ? भन्छन् । केपी ओलीले विरोध गर्नुपर्ने काम नै गर्दैनन् त के प्रश्न गर्ने ? हामी यस्तो कुराबाट प्रभावित हुनु हुँदैन ।’ ओलीले एमालेमा आलोचनात्मक हराएकाहरू बस्छन् भनेर बाहिर हल्ला फैलाइएको पनि बताए ।

ओलीले भने, ‘महाधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धा पनि भयो । तर अब केन्द्रीय कमिटीमा प्यानल छैन । यो देश हाँक्ने केन्द्रीय कमिटी हो । यसैले एमालेमा अब कुनै प्यानल छैन ।’ सो बैठकमा बोल्दै ओलीले महाधिवेशनमा प्यानल बनाएर प्रतिष्पर्धा गरे पनि अब कुनै प्यानल नरहेको बताए ।

केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गरिने
नेकपा एमालेले केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य र पदाधिकारी रहने केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा जारी नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले यसबारे जानकारी गराएका हुन् ।

उनका अनुसार, केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य र पदाधिकारी रहेको केन्द्रीय सल्लाहकार परिषद् गठन गरिने छ । यस्तै ११औँ महाधिवेशनपछि बसेको पहिलो बैठकले पार्टीमा मनोनयन, पोलिटब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्न केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६, २७ र २८ गते राखेको छ । केन्द्रीय कमिटीको एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ स्थायी कमिटी गठन हुनेछ । एमालेको केन्द्रीय कमिटीमा ३०१ सदस्य रहेका छन् ।

 

देउवाले उपसभापति र महामन्त्रीसँग छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूलाई छलफलमा बोलाएका छन् । देउवाले भोलि (शनिबार) बिहान ९ बजे आफ्नै निवासमा शीर्ष पदाधिकारीहरूलाई छलफलमा बोलाएका हुन्। स्रोतका अनुसार सभापति देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र अर्का उपसभापति धनराज गुरुङलाई छलफलमा बोलाएका हुन्। यस्तै देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बैठकमा बोलाएका छन् । उनीहरूबीचको छलफल आगामी महाधिवेशनका विषयमा केन्द्रित हुने बताइएको छ।

स्रोतका अनुसार महाधिवेशनमा प्रस्तुत गर्ने विधान शंसोधन समितिको संयोजक कसलाई बनाउने भन्ने विषयमा छलफल हुने छ। ‘गगन र विश्वप्रकाश दुवै समितिको नेतृत्व चाहन्छन् । त्यसैले समिति बनाउन ढिलाई भइरहेको छ‚’ स्रोतले भन्यो, ‘भोलिको बैठकमा यस विषयमा छलफल र निष्कर्ष पुग्ने देखिन्छ।’ यसबाहेक क्रियाशील सदस्यता नवीकरण वितरणको अवस्था, संसद् पुनःस्थापनाको पक्षमा भइरहेको हस्ताक्षर, निर्वाचनको वातावरणलगायत विषयमा छलफल हुने स्रोत बताउँछ। ‘पुस अन्तिममा महाधिवेशन गर्ने भनिएको छ। क्रियाशीलको फारमकै विषयमा लफडा भयो,’ स्रोतले थप्यो, ‘महाधिवेशन कार्यतालिकामा यसले पार्ने प्रभावलगायत विषयमा छलफल हुनेछ।’

पार्टीले यही पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ । पार्टी प्रवक्ता प्रकाशशरण महतले रकेट स्टाइलमा महाधिवेशन गर्ने गरी कार्यतालिका आएको भन्दै व्यंग्य गर्दै आएका छन्। उनी बाहेक नेताहरू विमलेन्द्र निधि, कृष्ण सिटौलालगायत नेता कार्यकर्ताले कार्यतालिका व्यवहारिक नभएको भन्दै कार्यान्वयन नहुने चिन्ता व्यक्त गर्दै आएका छन्। कांग्रेसले पुस १६ मा वडा अधिवेशन गरेर २६ गते केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ।

 

रास्वपा संघीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संघीय नेतृत्व मञ्चमा १७ जना नेताहरू मनोनीत भएका छन् । रास्वपाको आज (शुक्रबार) बसेको सचिवालय बैठकले पार्टीको संघीय नेतृत्व मञ्चको सदस्यमा पहिलो चरणमा १७ जनालाई मनोनीत गर्ने निर्णय गरेको हो । विवेकशील साझाबाट रास्वपामा गएका नेताहरूलाई संघीय नेतृत्व मञ्च सदस्य बनाउने सहमति थियो ।

हेर्नुस् मनोनीतको सूची
१. समीक्षा बास्कोटा, ललितपुर
२. प्रकाशचन्द्र परियार, सुनसरी
३. बिमला अधिकारी, चितवन
४. रन्जु दर्शना, काठमाडौं
५. पवित्रा थापा, कास्की
६. बिमल तामाङ, नुवाकोट
७. समुन्द्र केसी, ललितपुर
८. दामोदर नेपाल, नुवाकोट
९. आशुतोष प्रधान, चितवन
१०. नवराज थापा, गोरखा
११. सुरज प्रधान, भक्तपुर
१२. धनेज थापा, काठमाडौं
१३. सुदन श्रेष्ठ, सुनसरी
१४. अजित खड्का, काठमाडौं
१५. रुस्तम अन्सारी, बारा
१६. सुशील शाह, बारा
१७. शीतल भुसाल, रुपन्देही

रवि लामिछाने रिहा हुने बितिक्कै पार्टी जिम्मेवारीमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भए लगत्तै पार्टीको मूल जिम्मेवारीमा पुनः फर्किने भएका छन् । कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्यालले शुक्रबार विज्ञप्ति जारी गर्दै लामिछानेको रिहाइसँगै नेतृत्व हस्तान्तरण तत्काल हुने स्पष्ट गरेका हुन् ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार सभापति लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सो आदेशअनुसार अदालती प्रक्रिया पूरा गर्न लामिछाने आज भैरहवा जाँदैछन्। प्रक्रिया टुंगिएसँगै उनी पार्टीको केन्द्रीय जिम्मेवारीमा फर्किने कार्यवाहक सभापति अर्यालले जानकारी दिएका छन् ।
विज्ञप्तिमा रास्वपाले अदालतको आदेशप्रति सम्मान व्यक्त गर्दै विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति पार्टी सदैव प्रतिबद्ध रहेको दोहो¥याएको छ । साथै सभापति लामिछानेमाथि लगाइएका मुद्दाहरू अझै यथावत् रहेको उल्लेख गर्दै ती मुद्दाहरू तत्कालीन निरंकुश सरकारबाट सुरु गरिएको राजनीतिक प्रतिशोधको शृङ्खला भएको पार्टीको ठहर रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले वर्तमान नागरिक सरकारले उक्त राजनीतिक प्रतिशोधको शृङ्खलालाई अन्त्य गर्न आवश्यक कदम चाल्ने विश्वाससमेत व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक प्रतिशोधविरुद्ध एकजुट भई निरन्तर खबरदारी गर्नुहुने देश–विदेशमा रहनुभएका सम्पूर्ण न्यायप्रेमी नेपालीप्रति र न्यायका पक्षमा विभिन्न अभियानमार्फत उभिनुहुने पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकहरूप्रति पार्टी हार्दिक आभार व्यक्त गर्दछ ।’ रास्वपाले सभापति लामिछानेको पुनरागमनले पार्टी गतिविधि थप सशक्त र संगठित हुने विश्वास लिएको छ। रिहाइपछि उनी पार्टी संगठन, राजनीतिक एजेन्डा र आगामी कार्यदिशामा पुनः सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

हेर्नुस् विज्ञप्ती

 

गगन थापाले चलाएको पार्टी देखिसकियो, अब आफूले चलाएर देखाउने इच्छा छ : नेता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औं महाधिवेशनमा आफू सहमहामन्त्री सशक्त दाबेदार रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता शर्माले महाधिवेशनमा सहमहामन्त्रीको दाबी गर्ने बताएका हुन् । उनले आफूलाई सहमहामन्त्री पदमा उठ्न नदिए आफ्नै ढंगले महामन्त्री पदमा उम्मेदवारी दिने दाबी समेत गरे । उनले पार्टीका शीर्ष नेताहरुले महाधिवेशनमा दोस्रो तहका नेताहरुमाथि दमन गरे छुट्टै प्यानल बनाएर विद्रोहमा उत्रिने चेतावनी समेत दिए ।

उनले भने ,‘म अहिलेसम्म डा. शेखर कोइाराला पक्षको मान्छे  हो । यसमा लजाउने कुरा भएन । मैले अगामी महाधिवेशनमा सहमहामन्त्री दिनुहोस् भन्छु । म अरु जस्तो तपाईहरुसँग झुटो बोल्दिनँ । म माथिबाट तल झर्ने मान्छे होइन तलबाट माथि जाने हो । मेरो जीवन पनि त्यस्तै छ । तल सुकुम्बासीको छोरो अहिलेसम्म यहाँ आइपुगेको छु ।’ उनले भने, ‘सहमहामन्त्रीमा मेरो उम्मेदवारीको निम्ति आग्रह गर्छु । उहाँहरुले दिनु भएन भने नयाँ ढंगको सोच हुन्छ महामन्त्रीमा मेरो उम्मेदवारी जान्छ या उपसभापतिमा जान्छ । यो पटक सभापतिमा जादैन । यदि त्यसमा पनि समस्या आएछ भने सभापतिको लागि स्वच्छ छवि भएको नयाँ उम्मेदवार घोषणा गरेर विद्रोहमा जान्छौँ ।’ उनले पार्टीका वर्तमान महामन्त्री गगनकुमार थापाले चलाएको पार्टी आफूहरुले देखिसकेको भन्दै आफूले चलाएको पार्टी जनतालाई देखाउने इच्छा रहेको पनि बताए ।

 

कुलमानले निर्माण व्यवसायीको मानमर्दन गरे : अध्यक्ष सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीहरुको मानमर्दन गरेको आरोप लगाएका छन् । वागमती प्रदेश निर्माण व्यवसायी महासंघको साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले जेन–जी विद्रोहबाट बनेको सरकारले निर्माण व्यवसाय र निर्माण उद्योगीहरुमा निर्मम प्रहार गरिरहेको बताए ।

उर्जा, जलश्रोत, सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्रीले असभ्य भाषाबाट निर्माण व्यवसायीहरुमाथि प्रहार गरिरहेको बताए । मन्त्री घिसिङको कदमले व्यवसायीहरु हतोत्साहित भएको उनले बताए । उनले मन्त्रीले निर्माण उद्योगलाई धराशायी बनाइरहेको आरोप लगाए । असन्तुष्टि र विद्रोहबाट बनेको सरकारले पछ्याएको बाटो पनि विगतको दिनको भन्दा पाउन नसकेको बताए ।

उनले भने, ‘जेन–जी विद्रोहबाट बनेको सरकारले निर्माण व्यवसाय र निर्माण उद्योगीहरुमा जुन हिसावले प्रहार भइरहेको छ । त्यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छौँ । देशभरका निर्माण व्यवसायी साथीहरुलाई अहिले जुन तदारुकताका साथ विकास निर्माणका जिम्मेवारी प्राप्त गर्नुभएको मन्त्री ज्यु जो उर्जा, जलश्रोत, सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्री हुनुहुन्छ, उहाँले अहिले म्याराथन दौडको सिलसिलामा देशभरका निर्माण व्यवसायीहरुलाई अलिकति असभ्य भाषाहरु पनि प्रयोग गरेर र जुन तदारुकता उहाँले विकास निर्माणस्थलहरुमा भ्रमण गरेर त्यस्तो कमी कमजोरीलाई नियालेर त्यसअनुसार काम सम्पन्न गर्न उर्जा दिनुको सट्टा निर्माण व्यवसायीहरुको हतोत्साहीत गर्ने, मान मर्दन गर्ने गरेर अभिव्यक्तिहरु दिने काम गर्नुभएको छ । सुन्नै नसक्ने, यो धर्तीमा रहन्न भन्नेसम्मको अभिव्यक्ति दिने र त्यसैअनुसारको प्रचारप्रसार गर्ने शैलीमा छ । असन्तुष्टिबाट निस्किएको विद्रोहबाट बनेको सरकारले पछ्याएको बाटो पनि विगतको दिनको भन्दा पाउन सकेको छैन ।’ अध्यक्ष सिंहले विगतमा सरकारी संयन्त्रको प्रयोग गरी राजनीतिक स्वार्थ पूरा गर्ने गरिएको र अन्तरिम सरकारले पनि त्यही क्रमले निरन्तरता पाएको दाबी गरे । मन्त्री घिसिङ सरकारी संयन्त्रको प्रयोग गरेर पार्टीको प्रचारमा लागिरहेको आरोप लगाए ।

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनपछि पहिलो केन्द्रीय कमिटी बैठक आज बसेको छ । काठमाडौंमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधनसमेत गरेका छन् । बैठकमा महासचिव शंकर पोखरेलले विभिन्न प्रस्ताव राखेका छन् । जसमध्ये नेताहरूको कार्यविभाजन सचिवालयले तोक्ने प्रस्ताव समावेश छ। एमालेमा १९ सदस्यीय सचिवालय छ । प्रस्तावअनुसार अब कसलाई के जिम्मेवारी दिने भन्ने विषय सचिवालयले तोक्नेछ ।

साथै अर्को केन्द्रीय कमिटी बैठक तीन सातापछि फेरि बस्नेछ । केन्द्रीय निकायअन्तर्गत सल्लाहकार परिषद गठनको पनि बैठकमा प्रस्ताव गरिएको छ । यस्तो परिषद कम्तीमा २५ सदस्यीय रहनेछ । साथै विधान संशोधन र परिमार्जन गर्दै प्रकाशन गर्ने प्रस्ताव छ । एमाले ११ औं महाधिवेशन उद्घाटन भएर बन्द सत्र सुरू नहुँदै गर्दा केन्द्रीय कमिटी बैठक गरेर पुरानै विधान ब्युँत्याइएको थियो । जसअनुसार सचिवालय, केन्द्रीय कमिटीको आकार बढाइएको थियो ।

जेनजी आन्दोलनका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रवार घाइते पत्रकारहरुलाई नगदसहित सम्मान गर्न सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस्तो घोषणा गरेका हुन् ।

जेन–जी प्रदर्शनको क्रममा प्रहरीले प्रहार गरेको छर्रा र रबरको गोली लागेर चार पत्रकार घाइते भएका थिए । आन्दोलनको क्रममा घाइते भएका कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्याम श्रेष्ठ, नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दीपेन्द्र ढुंगाना, नेपाल प्रेसडटकमका फोटो पत्रकार उमेश कार्की र पत्रकार शम्भु दंगाललाई शुक्रवार मन्त्रालयमा एक आयोजित कार्यक्रमका बीच सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै मन्त्री खरेलले घाइते पत्रकारहरुलाई निरन्तर सम्पर्कमा रहन आग्रह समेत गरे ।

उनले भने, ‘राज्यले तपाईंहरुको उपचार खर्च व्यहोर्नुपर्छ, व्यहोर्छ । मैले त्यतिबेला पनि भनेको थिएँ । आज पनि भन्छु । यत्रो दुनियाको खर्च व्यहोरिरहेको सरकारले तपाईको किन नव्यहोर्ने ? तर यसमा मिसइन्फरमेसन चाहीँ नहोस् है । सरकारले वास्ता गरेन हैन, गर्छ । तर सम्पर्क त हुनुप¥यो ।’ मन्त्री खरेलले घाइते पत्रकारहरुले चाहेको खण्डमा उचित रोजगारीको व्यवस्थापन पत्रकार महासंघले गर्नुपर्नेमा जोड दिए ।

 

ओलीले भने–एमालेमा गुट सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्दा बनेको प्यानल महाधिवेशन सकिएसँगै सिद्धिएको बताएका छन् । नयाँ निर्वाचित केन्द्रीय कमिटी एकढिक्का रहेको उनले बताए । ११ औं महाधिवेशनपछिको पहिलो केन्द्रीय कमिटी बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले चुनाव लड्दा बनेको प्यानल चुनाव सकिएसँगै सिद्धिएको बताएका हुन् । ‘हिजो चुनावमा लड्दा प्यानल भएर पनि लडियो होला, परिणाम आएसँगै सिद्धियो । यो प्यानल र त्यो प्यानल होइन, देश हाँक्ने केन्द्रीय कमिटी हो । एकजुट छ, एकढिक्का छ,’ ओलीले भने, ‘यो पक्ष, उ पक्ष, यो प्यानल उ प्यानल छैन । यही भावनाका साथ यही दृढताका साथ हामी अगाडि बढ्छौं ।’

एमालेभित्र ओलीको तानाशाही र अधिनायकवाद छ, आलोचनात्मक चेत नभएकाहरू झोले भन्छन् भनेर गरिएको प्रचारबाट प्रभावित हुनु नपर्ने उनले बताए । ‘उल्क्याउँछन्, त्यहाँ बोल्नै पाइँदैन । त्यहाँ ओलीको अधिनायकवाद, तानाशाही चल्छ । यस्ता हल्ला चलाउँछन् । आलोचनात्मक चेत हराएका झोले एमालेमा बस्छन्, केपी ओलीले विरोध गर्न सक्दैन भन्छन्,’ ओलीले भने, ‘नेतृत्वप्रति अनास्था फैल्याउन उचाल्ने कम गर्छन्, यस्तो कुराबाट हामी प्रभावित हुनु हुँदैन ।’ ओली बिहीबारमात्रै ईश्वर पोखरेललाई पराजित गरेर अध्यक्षमा लगातार तेस्रोपटक निर्वाचित भएका हुन् । अहिले एमालेको नव निर्वाचित केन्द्रीय कमिटीको बैठक चलिरहेको छ ।

 

एमालेमा बादललाई दोस्रो वरीयता, अरु कसलाई कुन ?

काठमाडौं । नेकपा (एमाले) को एघारौं महाधिवेशनबाट निर्वाचिन नयाँ केन्द्रीय कमिटीमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई दोस्रो वरीयतामा राखिएको छ । महाधिवेशनपछि शुक्रबार नव निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसेको छ । कार्की ब्यांकेटमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीपछि बादललाई दोस्रो वरीयतामा राखिएको छ ।

अध्यक्षको ओलीको दाहिनेतिर पहिलो नम्बरमा बादल बसेका छन् । त्यसपछि क्रमशः विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त छन् । बादलसहित पाँचै जना उपाध्यक्षमा निर्वाचित भएका हुन् । दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा बादल पाँचौँ बरियतामा थिए । दोस्रोमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेरल, तेस्रोमा उपाध्यक्ष युवराज ज्ञवाली र चौथोमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य रहेका थिए । यस पटक वरिष्ठ उपाध्यक्ष पद राखिएको थिए ।

केन्द्रीय सदस्यलाई ओलीको निर्देशन : पार्टीको प्रतिष्ठामा आँच पुग्ने कुरा मिडियामा नबोल्नू

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित केन्द्रीय कमिटीलाई पार्टीको अनुशासन र प्रतिष्ठा कायम राख्न कडा निर्देशन दिएका छन् । शुक्रबार सम्पन्न पहिलो केन्द्रीय कमिटी बैठकमा ओलीले पार्टीसँग सम्बन्धित असन्तुष्टि वा विवादास्पद विषयहरू सार्वजनिक सञ्चारमाध्यममा नगर्न अनुरोध गरेका हुन् ।

उनले भने, ‘सार्वजनिक सञ्चारमाध्यममा गएर पार्टीको प्रतिष्ठा, सम्बन्धन वा भावनामा कुनै पनि खालको असर नपरोस्। यदि असन्तुष्टि छ भने नेतृत्व समक्ष मौखिक वा लिखित रूपमा व्यक्त गर्न सकिन्छ ।’ ओलीले यो कुरालाई पार्टी अनुशासन र एकताको आधारमा महत्वपूर्ण भनेका छन् । ओलीले केन्द्रीय कमिटीका सदस्यहरुलाई बैठकमा मोबाइल प्रयोग नगर्न कडा निर्देशन दिएका थिए । बैठकको क्रममा मोबाइल बज्दा उनले स्पष्ट रूपमा निर्देशन दिए, ‘केन्द्रीय कमिटी बैठकमा मोबाइल बज्न हुँदैन । कोही पनि बोल्न हुँदैन ।’ उनले बैठकलाई विचार र अनुशासनको आधारमा सञ्चालन गर्न जोड दिएका छन् ।

अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक पार्टी भए पनि व्यक्तिगत असन्तुष्टि र आलोचना सामूहिक हित र राष्ट्रिय स्वार्थभन्दा माथि नउठ्ने गरी प्रस्तुत गर्नुपर्ने बताए । उनले पार्टीमा नेताहरूलाई अनुशासनमा रहन र एकता कायम गर्न आग्रह गर्दै भने, ‘पार्टी एकतालाई कमजोर पार्ने खालका गतिविधि वा बाह्य प्रभावमा नपर्नुहोस् । लिडरशीपप्रति अनास्था जगाउने प्रयासले पार्टीको एकतालाई असर गर्न सक्छ ।’ यस निर्देशनसँगै ओलीले पार्टीभित्र अनुशासन र सामाजिक व्यवहारको महत्वलाई विशेष रूपमा जोड दिएका छन् र नेताहरूलाई आफ्नो स्वतन्त्र अभिव्यक्तिलाई पार्टी हितअनुकूल ढंगले व्यक्त गर्न सजग रहन सुझाएका छन् ।

 

एमाले देशको झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो होइन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासनको महत्व औंल्याउँदै ११ औं महाधिवेशनपछि निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गरेका छन् । उनले मतपरिणामलाई सबैले स्वीकार गरेको उल्लेख गर्दै अब पार्टी नयाँ एकताका साथ अघि बढ्ने स्पष्ट पारेका छन् ।

ओलीले भने, ‘पार्टीमा आँच आउने कुनै पनि काम हुनु हुँदैन । हामी सुदृढ अनुशासनमा बस्छौँ । अनुशासन मानव हुनुको नाताले, सामाजिक प्राणी हुनुको नाताले अनिवार्य छ । मानव जातिको झुन्डहरू समाजमा बस्न थालेपछि अनुशासनमा बाँधिन थालेको हो । अनुशासनमा बाँधिएन भने त्यो समाज हुँदैन । हामी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइनौं । हाम्रो पार्टी लोकतान्त्रिक छ र यसमा दृढ विश्वास आवश्यक छ ।’

उनले महाधिवेशनलाई सफल भएको भन्दै यसलाई पार्टीको सामूहिक प्रयासको परिणाम ठहराए । ‘यो नतिजा सिंगै पार्टीले निर्माण गरेको हो र यसलाई सिंगै पार्टीले स्वीकार गर्छ’, उनले भने । अध्यक्ष ओलीले पार्टीको नयाँ नीति अनुसार अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्दै भने, ‘हामी नयाँ एकताका साथ अगाडि बढ्छौँ। हाम्रो एक आवाज हुनुपर्छ । नीति अनुसार अघि बढ्ने क्रममा हामी आर्मीले मार्च गरेजस्तो ताल मिलाएर अगाडि बढ्नेछौँ ।’ ओलीको सम्बोधनले पार्टीभित्र अनुशासन र सामूहिक कार्यमा जोड दिन्छ, जसले एमालेको भविष्य रणनीति र कार्यशैलीमा स्पष्ट संकेत दिएको छ ।

 

 

 

 

अमेरिकाले एकै पटक ७५ नेपालीलाई गर्‍यो ‘डिपोर्ट’

काठमाडौं । अमेरिकाले एकै पटक ७५ जना नेपालीलाई ‘डिपोर्ट’ गरेको छ । अमेरिकाले शुक्रबार चार्टर्ड विमानमार्फत ६ महिलासहित ७५ जनालाई नेपाल डिपोर्ट गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार अमेरिकी विमानमार्फत नै उनीहरूलाई डिपोर्ट गरिएको हो । डोनाल्ड ट्रम्पले दोस्रो पटक अमेरिकी राष्ट्रपतिको शपथ लिएयता अमेरिकाले ४६३ जना नेपालीलाई डिपोर्ट गरिसकेको छ । यसअघि गत भदौ १९ गते अमेरिकाले यसैगरी एकैदिन ३७ नेपालीलाई डिपोर्ट गरेको थियो ।

अमेरिकाले २०८२ जेठ २५ गते पनि एकसाथ ३७ नेपालीलाई डिपोर्ट गरेको थियो । अमेरिकामा बस्नका लागि कानूनी आधार स्थापित नभएकाहरूलाई अमेरिकाले डिपोर्ट गर्दै आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाइन्छ । प्रहरीको मानव बेचबिखन ब्यूरोमा लगिन्छ । इच्छुकले प्रहरीमा उजुरी दर्ता गर्न सक्छन् । डिपोर्ट भएर आएकाहरू केहीले उजुरी पनि दिएका छन् । नेपालबाट अमेरिका पठाउने मानव तस्करको जालोबारे प्रहरीले सूचना मागे पनि अमेरिकाबाट डिपोर्ट भएका नेपालीले सकभर सबै सूचना नदिने गरेको पाइएको छ ।

 

 

 

 

 

चितवन पुगे रवि, स्थलमार्गबाट भैरहवा प्रस्थान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने चितवनको भरतपुर पुगेका छन् । रिहाइको प्रक्रिया पूरा गर्न रुपन्देही जान लागेका लामिछाने प्रतिकूल मौसमका कारण सिधै उडान हुन नसकेपछि विमानबाट भरतपुर गएका हुन् । लामिछाने भरतपुरबाट स्थलगतमार्ग हुँदै केहीबेरअघि गाडीमा रुपन्देही प्रस्थान गरेका छन् । बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनलाई अदालतले शर्तसहित थुनामुक्त गर्न आदेश गरेको छ।

संगठित सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने बिगोबापतको रकम बुझाएर रिहाइ गर्न माग गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका थिए । उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ । सोहीअनुसार रवि भैरहवा जान लागेका हुन् । रवि लामिछानेले भोलि (पुस ५ गते) चितवनमा सम्बोधन गर्ने भएका छन् ।

चितवन गेष्ट हाउस चौर , जिल्ला प्रहरी कार्यालय अगाडीको चौरमा बिहान ठिक ११ बजे लामिछानेले बृहत् भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नेछन् । रास्वपा चितवनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘शनिवारका दिन हाम्रा आदरणीय पार्टी सभापति श्री रबी लामिछाने ज्युद्वारा आम चितवनवासी आमाबुबा, दाजुभाइ, दिदी बहिनी तथा पार्टी पङ्क्तिका साथीहरूसँग बृहद भेटघाट तथा सम्बोधन कार्यक्रम हुने हुँदा चितवनका टोल तथा वडा तहदेखि जिल्ला तह सम्मका समितिका सम्पूर्ण साथीहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिन्छ ।’

 

 

 

जेनजी नेता पुरुषोत्तम यादव रास्वपाको समानुपातिक उम्मेदवार सूचीमा

काठमाडौं । जेनजी नेता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । सो पार्टीका प्रवक्ता मनिष झाले आज शुक्रबार उनलाई स्वागत गरेका हुन् । रास्वपाले उनलाई प्रारम्भिक समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको सूचीमा समेत समावेश गरेको छ । यादवले आफू रास्वपा प्रवेश गरेको पुष्टि गर्दै अहिले समानुपातिक सूचीमा रहनेगरी प्रवेश गरिएको भएपनि पछि प्रत्यक्ष समेत लड्न सक्ने बताएका छन् ।

यस्तै विवेकशील साझा पार्टीबाट रास्वपामा गएका समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शना, प्रकाशचन्द्र परियार, नवराज थापालगायत समानुपातिकतर्फ प्रारम्भिक सूचीमा परेको रास्वपाले जनाएको छ । रास्वपा र विवेकशील साझाबीच १४ मंसिरमा एकता भएको थियो । समानुपातिकतर्फ उम्मेदवार हुन इच्छुकहरूको प्रारम्भिक नामावली रास्वपाले गएराति सार्वजनिक गरेको थियो । समानुपातिक तर्फको अन्तिम नामावली १४ पुसमा सार्वजनिक गर्ने रास्वपाले जनाएको छ ।

अमेरिकाको ‘डीभी लटरी’ योजना स्थगित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम निलम्बन गरेका छन् । ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जानेगरी गोलीकाण्ड भएपछि ट्रम्पले ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित गर्ने निर्णय गरेका हुन् । हिजो बिहीबार ब्राउन युनिभर्सिटी घटनाका संदिग्ध ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्ते मृत अवस्थामा फेला परेका थिए । उनी सन् २०१७ मा विविधता लटरी आप्रवासी भिसा कार्यक्रम ९डीभी० मार्फत अमेरिका प्रवेश गरी ग्रीन कार्ड पाएका थिए ।

होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले ट्रम्पको निर्देशनमा यो निर्णय लिइएको बताइन् । ‘ग्रीन कार्ड लटरी’ ले ऐतिहासिक रूपमा कम आप्रवास दर भएका देशका नागरिकहरूलाई संयुक्त राज्य अमेरिकामा स्थायी बसोबासको लागि आवेदन दिन अनुमति दिन्छ । प्रशासनले आगामी २०२७ कार्यक्रमको लागि विविधता भिसा लटरी प्रवेश प्रक्रिया परिवर्तन गर्ने बताएको एक महिना पछि यो कदम आएको हो ।

‘विदेशिएकी महिलालाई राम्रो नजरले नहेर्ने रहेछन्’

काठमाडौं । सुनसरीको रामदुनी झुम्का–१ की सकुन्तला अधिकारीका दुई छोराछोरी पाँच कक्षामा पढ्दै थिए । श्रीमानको कमाइ थिएन । हुर्किदै गरेका सन्तानको भविष्य बनाउने सपनासहित उनी विदेशिनुपर्ने अवस्था आयो । मेनपावरमार्फत कुवेत पुगेकी अधिकारीसँग गृहिणीका रूपमा घरायसी काम र खाना पकाउने बाहेक अन्य अनुभव थिएन । के कामका लागि विदेश जाँदै छु भन्ने समेत थाहा नपाइ कुवेत पुगेको उनी सुनाउँछिन् ।

कुवेतको बसाइँ सहज भएन । दुई वर्षसम्म निकै सास्ती खेप्नुपर्‍यो, ऋण काढेर गएकी अधिकारीलाई रित्तो हात घर फर्किन सहज थिएन । केही समयपछि साथीभाइको सहयोगमा अरबीको घरमा घरेलु कामदारका रुपमा काम पाइन् । ‘राम्रो घरमा काम पाउनु भनेको निकै भाग्यको कुरा हो, त्यस्तै भाग्मानी रहेछु म । मैले काम पाएको घरका मान्छे निकै मनकारी थिए,’ उनले स्मरण गरिन्, ‘काम भने धेरै गर्नुपथ्र्यो । २४सै घण्टा काममा खट्नुपर्ने अवस्था समेत आउने ।’ अचेल अधिकारीलाई त्यति समय नेपालमै श्रम बगाएको भए पनि धेरै आर्थिक लाभ हुने रहेछ भन्ने लागेको छ । ‘वैदेशिक रोजगारीमा जानु हामी जस्ता महिलाका लागि रहरभन्दा पनि बाध्यता नै हो । विदेश गएर दुई–चार पैसा ल्याई बस्ने बास र छोराछोरी पढाउने आशमा विदेशिनुपर्ने अवस्थाका कति छन् कति’ उनी भन्छिन् । त्यही बाध्यता अधिकारीलाई पनि थियो, त्यसैले त साढे दश वर्षसम्म छोराछोरी पढाउनकै लागि चाहेर पनि उनले स्वदेश फर्किन पाइनन् । ‘घर आउने चाहना कसलाई हुँदैन र ? छोराछोरी काखमा च्याप्ने रहर त थियो नि मलाई पनि,’ उनी भन्छिन्, ‘तर, के गर्नु आउँदा जाँदा खर्च लाग्छ भनेर मन बाधेर बस्थेँ। त्यसो गर्दा गर्दै साढे दश वर्ष कुवेतमा बिताए ।’

४० वर्षीया अधिकारी जब स्वदेश फर्किन, गाउँमा पनि शान्तले बस्न पाइनन् । परिवार, समाज र आफन्तले हेर्ने दृष्टिकोण सकारात्मक भएन । उनले आर्थिक अभावभन्दा पनि यस्तै दृष्टिकोणका कारण समस्या भोगिन् । ‘छोराछोरी छोडेर विदेशिएकी महिलालाई राम्रो नजरले नहेर्दा रहेछन्, मैले धेरै नराम्रो सुन्नुप¥यो,’ अधिकारीले पीडा सुनाइन्, ‘समाज, परिवार र आफन्तको त्यही असहयोगी वातावरणले मानसिक समस्या भोग्नुप¥यो । डिप्रेसनको औषधि खानुपर्‍यो । आत्महत्या गर्ने सुर चल्यो ।’ लाञ्छनाले भरिएको गहु्रङ्गो र विक्षिप्त मन बोकेर बाँचिरहेकी अधिकारीलाई केही समय निकै गाह्रो भयो । पछि सहकर्मी र केही सकारात्मक सोच भएका मानिसमार्फत वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनःएकीकरण (रेमी) परियोजनासँग जोडिइन् । ‘रेमीमा गएपछि पहिलो चरणमा आत्मबल बढाउने खालको सहयोग पाएँ, पछि आर्थिक मनोबल बढाउने सामग्री उपलब्ध गराइयो,’ अधिकारीले भनिन्, ‘डिपफ्रिज र केही व्यवसाय गर्ने सामग्री उपलब्ध भयो । त्यसैको सहयोगमा चटपटे, पानीपुरीको व्यापार र किराना पसल सञ्चालन गरिरहेकी छु ।’

त्यसपछि उनको दैनिकी फेरिएको छ । समाजका लाञ्छना पन्छाउँदै त्यही व्यापारबाट राम्रो आम्दानीसँगै स्वदेशमै सम्मानपूर्वक जीवनयापन गर्ने आधार बनिरहेको अधिकार सुनाउँछिन् । सुनसरीबाट अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन काठमाडौँ आएकी उनले आफ्नो प्रगती सुनाउँदै भनिन्, ‘वैदेशीक रोजगारमा गएर मात्रै समस्या सुल्झिन्न रहेछ । हामीले स्वदेशमै लाज नमानी काम गर्ने हो भने अर्काको देशमा दुःख गर्नु पर्दैन। परिवारसँगै बसेर सम्मानित जीवन बाँच्न सकिने रहेछ ।’ उनी जस्तै, वैदेशिक रोजगारबाट फर्केर स्वदेशमै उद्यमी बनेकी जनकपुरका नन्दु यादवको सङ्घर्ष पनि कम छैन । कतारमा १८ वर्षसम्म श्रम गरेर फर्किएकी यादवले हाल माछा तथा पशुपालन व्यवसाय गरेकी छन् । ५६ वर्षीया यादवले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘विदेश जानु नराम्रो होइन, सीप सिकेर जाँदा राम्रै हुन्छ । जाँदा सीप सिकेर गइएन भने धेरै दुःख पाइन्छ । होस् गर्नुपर्छ ।’

२० वर्षको कलिलो उमेरमा घरको आर्थिक अवस्था सुधार्न ७० हजार रुपैयाँ ऋण लिएर कतार पुगेकी उनले सोचे जस्तो कमाइ नभएको सुनाइन् । ‘ऋणको ब्याज तिर्दै विदेशको पैसा सकियो। केही रकम परिवारको आवश्यकता पूर्तिकै काममा सकियो,’ यादवले भनिन्, ‘समस्या त घर फर्किएपछि भयो । लगानी गर्न पैसा छैन। के गर्ने, कसो गर्ने भयो । पछि रेमी परियोजनाको सहयोगमा माछा तथा पशुपालन व्यवसाय सुरु गर्दा धेरै राहत भएको छ ।’

हाल उनको फार्ममा दुई जना युवाले पनि रोजगार पाएका छन् । यसले धेरैपछि कर्म गर्नेलाई स्वदेशमै पनि आम्दानीका विभिन्न अवसर रहेको भन्ने महसूस भएको यादवले सुनाइन् । ‘अर्काको देशमा नोकर बन्नुभन्दा आफ्नो देशमा साहु बनेरै कमाउन सकिँदो रहेछ । आफ्नै देशमा पैसा पनि सम्मान पनि मिल्ने। त्यसैले वैदेशिक रोजगारमा जाने सोच बनाएकाले यस विषयमा सोच्नुपर्छ भन्ने लाग्छ ।’

उनीहरू मात्रै होइन, एकपटक विदेश गएर फर्किएपछि मात्रै देशमा अवसर देख्ने धेरै छन् । यद्यपि, धेरैलाई स्वास्थ्य, समय र विविध कारणले अवसर पहिचान गर्ने अवस्था रहँदैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रकाशन गरेको नेपाल आप्रवासन श्रमिक प्रतिवेदन २०२४ को तथ्याङ्कअनुसार वैदेशिक रोजगारमा जानेको संख्या बढ्दो क्रममा छ । तथ्यांकअनुसार सन् २०२२ /२३ मा नौ लाख ५४ हजार ३१९ जनाले श्रम स्वीकृति लिएका छन् भने जसमा एक लाख १३ हजार ५६ महिला श्रमिक छन् । यस्तै, सन् २०२३/२४ मा वैदेशिक रोजगारमा जानेमा सीपयुक्त जनशक्ति वृद्धि भई ६९.५ प्रतिशत पुगेको छ, तर पूर्ण दक्ष जनशक्तिको वृद्धि भने ०.४ प्रतिशत मात्रै छ ।
– मधु शाही /रासस

 

 

 

 

 

गायनबाट अभिनयतर्फ समीर

काठमाडौँ । युवापुस्ता माझ आफ्ना संगीत र गायनका कारण चर्चामा रहेका समीर श्रेष्ठले अभिनय यात्राको सुरुआत गरेका छन् । आफ्ना गीतको श्रव्यदृश्य (म्युजिक भिडिओ) मा देखिने गरेका गायक श्रेष्ठले चलचित्र ‘रमिताको पिरती’ मार्फत अभिनय यात्राको सुरुआत गर्दैछन् । कलाकारितामा इच्छा भएकाले नै अभिनयमा आफू आएको गायक श्रेष्ठले बताए ।

उनले भने ‘मैले अभिनय गर्ने सोच बनाएको थिएँ । तर, सही समय र पटकथा पाउन सकेकी थिएन् । मलाई अभिनेता बन्ने प्रस्ताव आउँदा पहिलो कुरा टोली राम्रो लाग्यो अनि विषयवस्तु पनि । सबै कुरा भने जस्तो भएपछि किन पर्खिने भनेर अभिनय यात्रा प्रारम्भ गरेको हुँ ।’ श्रेष्ठले अभिनेता बने पनि गायन र संगीतलाई नछाड्ने बताए । ‘मेरो पहिचान गायनले दिएकाले त्यसलाई छाड्ने वा रोक्ने भन्ने नै छैन । मेरो सक्रियता अभिनयमा पनि हुन्छ, तर गायन मेरो मुख्य पेसा हो । मलाई गायनमाझैं अभिनयमा पनि माया गर्नु हुनेछ भन्ने अपेक्षा राखेको छु’, गायक श्रेष्ठले भने ।

सुदिप्ताले निर्देशन गरेको उक्त चलचित्रमा गायक श्रेष्ठसँगै आना शर्मा, धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामो लगायतका कलाकारले अभिनय गरेका छन् । उक्त चलचित्रको पटकथा निर्देशक सुदिप्ताले नै तयार पार्नुभएको हो भने शिशिर विशङ्खेले छायाङ्कन, सुनिल सिवाकोटीले सम्पादन र कृतिका बरालले नृत्य निर्देशन गरेका छन् ।

पछिल्लो समय निर्माण भइरहेका भन्दा फरक विषय र प्रस्तुतिकरण भएकाले नयाँ पुस्तालाई यो चलचित्रले आकर्षण गर्ने वितरक करण श्रेष्ठले बताए । उनले भने ‘नयाँ अनुहारलाई लिएर तयार गरिएकाले पनि यो चलचित्र युवापुस्ताका लागि नयाँपन दिने बन्नसक्छ । यसको विषय र प्रस्तुतिकरणले विशेषतः युवापुस्तालाई चलचित्र भवनसम्म ल्याउँछ भन्ने हाम्रो विश्वास छ ।’ उक्त चलचित्र आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।

 

 

 

 

नेपालका लागि डेनमार्कको महावाणिज्यदूतमा धरेल नियुक्त

काठमाडौं । नेपालका लागि डेनमार्कका महावाणिज्यदूतमा हरि धरेललाई नियुक्त गरिएको छ । सन् २०१७ देखि नेपालका लागि डेनमार्कका वाणिज्यदूत रहेका धरेललाई डेनमार्क सरकारको प्रस्तावमा परराष्ट्र मन्त्रालयले हालै महावाणिज्यदूतमा पदोन्नति गरेको हो । नेपालको अनररी कन्सलसम्बन्धी नियमावली २०३९ (४) बमोजिम धरेललाई डेनमार्क अधिराज्यको कन्सल जनरल पदमा नियुक्त गरिएको हो ।

नेपालको पर्वतीय पर्यटन क्षेत्रमा विगत ३५ वर्षदेखि व्यावसायिक रुपमा कार्य गरिरहेका धरेलले विगत आठ वर्षदेखि कूटनीतिक क्षेत्रमा पनि सक्रिय रही नेपाल–डेनमार्क सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न विभिन्न काम गर्दै आएका छन् । दुई देशबीच लामो घनिष्टसम्बन्ध रहिआएको र आगामी दिनमा पनि यसलाई अझ जनस्तरमा विस्तार गरी लैजान आफू क्रियाशील रहने महावाणिज्यदूत धरेलले बताए । विभिन्न कारण काठमाडौंबाट नयाँदिल्ली स्थानान्तरण भएको डेनमार्कको दूतावासलाई पुनः नेपालमै फिर्ता ल्याउन पहल गर्ने उनले उल्लेख गरे ।

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔं : मन्त्री घिसिङ

ललितपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताएका छन् । ‘भविष्यका लागि बाँसको आवास’ भन्ने नाराका साथ ‘ह्याविट्याट फर ह्युम्यानिटी’ नेपालले आज यहाँ आयोजना गरेको ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ विमोचन कार्यक्रममा उनले स्थानीय उत्पादन उपयोगमा प्रोत्साहन गर्न आफूले योजना बनाइरहेको बताए ।

मन्त्री घिसिङले भने, ‘स्थानीय उत्पादन र प्रविधिको प्रयोगले रोजगारीको सिर्जना गर्नेछ । बाँसको व्यावसायिक खेतीले आन्तरिक मागलाई बढावा दिनुका साथै संरचना निर्माणका लागि खर्च हुने अन्तरराष्ट्रिय मुद्रा सञ्चितिमा समेत योगदान पुग्ने देखिन्छ । त्यसैले संरचना निर्माणका लागि स्थानीय प्रविधिको प्रयोग गरौँ, आफ्नो मौलिकता संरक्षणमा जोड दिऔँँ ।’ सहरी विकासमन्त्री समेत रहनुभएका घिसिङले आफ्नै देशको काठ तथा काठजन्य वस्तु प्रयोग नगर्दा त्यसले अर्थतन्त्रमा पनि नकारात्मक प्रभाव परेको भन्दे अब प्रधावकारी, प्रविधिमैत्री एवम् भूकम्प प्रतिरोधी संरचना निर्माणमा बाँसलगायतको प्रयोगमा ध्यान दिनुपर्नेमा जोड दिए ।

‘हामीले हाम्रो ठाउँको काठलाई उपयोग गर्न नसक्दा अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको छ । काठ आयातमा हामीले धेरै रकम खर्च गरिरहेका छौँ, बाँसका संरचनालाई प्रयोगमा ल्याउने वातावरण बनाऔँ, यसले अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउनेछ’, मन्त्री घिसिङले भने । सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले स्थानीय उत्पादनको प्रयोगमा जोड दिन मन्त्रालय तयार रहेको बताए । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहराले स्थानीय सन्दर्भ अनुकूल, जलावायुमैत्री प्रविधि, भूकम्प प्रतिरोधात्मक संरचना निर्माणका लागि आवश्यक नीतिगत व्यवस्था, मापदण्ड, निर्देशिका र कार्यविधि तयार गरी लागू गर्न विभाग प्रतिबद्ध रहेको बताए ।

 

 

 

 

भैरहवा हिंडेका रविलाई चितवन लगिंदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (शुक्रबार) बिहानै रुपन्देही जिल्ला अदालत पुगेर रिहाइ प्रक्रिया पूरा गर्ने योजना भए पनि खराब मौसम र उडान ढिलाइले गर्दा अझै पुग्न सकेका छैनन् । उनी बिहान ८ बजे अघि नै ललितपुरको नक्खु कारागारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । भैरहवाको लागि सुरुमा तय गरिएको उडान खराब मौसमका कारण स्थगित हुँदा रवि नेपाल एयरको जहाजमार्फत भैरहवा सिधै जान असमर्थ भए ।

त्यसपछि उनलाई भरतपुरसम्म जहाजमा पुर्‍याएर त्यहाँबाट गाडीमार्फत रुपन्देही पठाउने निर्णय भएको रास्वपाका नेता गणेश पराजुलीले जानकारी दिए । तर, यो खबर तयार गर्दा दिउँसो १ बजेसम्म रवि त्रिभुवन विमानस्थलमै रोकिएका थिए । उडान ढिलाइले गर्दा उच्च अदालतले पूर्व रिहाइका लागि दिएको आदेश कार्यान्वयन गर्न समेत विलम्ब भएको हो । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरले बिहीबार जमानत अनुमति दिएको थियो । तर, त्यसका लागि जिल्ला अदालतमा आवश्यक कागजी प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता रहेको छ ।

यस्ता छन् रविलाई उच्च अदालतका पाँच शर्तः
–२०८१ माघ १३ गते जिल्ला अदालतले मागेको धरौटी रकम दफा ६८ अनुसार स्वीकार गर्नुपर्ने ।
–बैंक जमानत २ करोड ७४ लाख ८४ हजार रुपैयाँ सुरक्षित गर्नुपर्ने ।
–विदेश यात्रा भएमा अदालतलाई पूर्व जानकारी दिनुपर्ने ।
–जिल्ला अदालतको मिति २०८२ साउन २६ को आदेशलाई बदर गर्नुपर्ने ।
–फैसला अनुसार बिगो रकम तिर्ने र आवश्यक कागजात बुझाउनु पर्ने ।

सुप्रिम सहकारी ठगी मुद्दामा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूमाथि ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोप छ भने १० करोड ९९ लाख ३६ हजार रुपैयाँ छुट्टै अपचलन गरेको आरोप रवि र उनका निकटतम प्रतिवादीमाथि छ । रविले आफ्नो जिम्मेवारी भाग गरेर मात्र रिहाइको माग गरेका हुन् । रवि लामिछानेको ढिला उडान, अदालत प्रक्रिया र जमानतका जटिल शर्तले राजनीतिक र कानुनी दुनियाँमा चासोका विषय बनेको छ । आजको दिनका लागि तय गरिएको रिहाइ अझै सम्भव देखिँदैन ।

 

 

 

 

समीक्षा, रञ्जु, क्रान्तिशिखा, ज्वालादेखि रमेश प्रसाईसम्म रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । विवेकशील साझाबाट पार्टीमा प्रवेश गरेका समीक्षा बास्कोटा र रञ्जु दर्शना बागमती प्रदेशबाट सूचीमा परेका छन् । पार्टीले प्रारम्भिक निर्वाचन (प्राइमरी) का लागि इच्छुक उम्मेदवारहरूको आवेदन मागेको थियो । सबैभन्दा बढी आवेदन बागमती प्रदेशबाट आएको छ, जहाँ ९४ जनाले दाबी गरेका छन् । यसमा रास्वपाकी कोषाध्यक्ष लिमा अधिकारी र केन्द्रीय सदस्य अरनिको पाण्डेको नाम पनि छन् ।

कोशी प्रदेशबाट ६० जना, मधेसबाट ६१ जना, गण्डकीबाट ४३, लुम्बिनीबाट ४४, सुदुरपश्चिमबाट ३० र कर्णालीबाट २१ जनाले आवेदन दिएका छन्। कोशी प्रदेशमा सहप्रवक्ता रमेश प्रसाईं, व्यवसायी राज्यलक्ष्मी गोल्छा र प्रकाशचन्द्र परियारका नाम प्रारम्भिक सूचीमा छन् । सुदुरपश्चिमबाट केन्द्रीय सदस्य ज्वाला संग्रौला र लुम्बिनीबाट क्रान्तिशिखा धितालको नाम समावेश छ ।

बास्कोटा गत निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका लागि प्रतिस्पर्धा गरेकी थिइन् भने दर्शनाले २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । पार्टीले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने तयारी गर्दै प्रारम्भिक सूची तयार पारेको हो, तर चुनावको निश्चितता भने अझै स्पष्ट छैन । रास्वपाले प्रारम्भिक सूचीमार्फत ३५३ आकांक्षीलाई समानुपातिक सांसद बन्ने अवसर दिनेछ । सूची सार्वजनिक भएपछि अब प्राइमरी निर्वाचनमार्फत फाइनल उम्मेदवार तय हुने प्रक्रिया अगाडि बढ्नेछ ।