`

बालेन, महेश, हर्क, निकोलसलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारसहित पाँच जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । अभिव्यक्ति, प्रचार शैली र चुनाव चिह्नको प्रयोगसँग सम्बन्धित उजुरीका आधारमा आयोगले उनीहरूलाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।

स्पष्टीकरण सोधिनेमा झापा–५ का उम्मेदवार रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), भक्तपुर–२ का नेकपा एमाले सचिव महेश बस्नेत, सुनसरी–१ का श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र रूपन्देही–२ का स्वतन्त्र उम्मेदवार निकोलस (कमल) भुसाल रहेका छन् । साथै भक्तपुर–२ की उम्मेदवार जानुका पाठकलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ ।

आयोगका अनुसार बालेन शाहमाथि सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिका कारण उजुरी परेको हो । उजुरीमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता शब्दहरू प्रमाण वा अदालतको निर्णय बिनै लगाइएका गम्भीर, तथ्यहीन र मानहानिकारक आरोप भएको दाबी गरिएको छ । केपी शर्मा ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको पारदर्शी, तथ्यमा आधारित पब्लिक डिबेटको सन्दर्भमा बालेनको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको उजुरीमा उल्लेख छ ।

यस्तै, एमाले सचिव महेश बस्नेतलाई पनि अभिव्यक्तिकै विषयमा स्पष्टीकरण सोधिएको छ । बालेन शाहले जनकपुरमा दिएको भाषणमा प्रयोग गरेको ‘छौरा’ शब्दलाई अनर्थ लगाउने गरी व्याख्या गरेको र त्यस क्रममा मधेसी समुदायलाई अपमानित हुने घृणात्मक अभिव्यक्ति दिएको आरोप उनीमाथि लागेको छ । हर्क साम्पाङमाथि भने चुनाव प्रचारका क्रममा बालबालिकाको प्रयोग गरेको र टिसर्ट लगाउन लगाएको विषयमा आचारसंहिता उल्लंघनको उजुरी परेको आयोगले जनाएको छ । आयोग स्रोतका अनुसार सोमबार नै उनलाई स्पष्टीकरणको पत्र पठाइएको हो ।

त्यसैगरी निकोलस भुसालमाथि दुईवटा चुनाव चिह्न प्रयोग गरी प्रचार गरेको आरोप छ । उनले ‘जेनजी आन्दोलनको आइकोनिक जुत्ता’ लाई चुनाव चिह्नका रूपमा प्रचार गरेको पाइएपछि आयोगले चुनाव चिह्नसम्बन्धी प्रावधान उल्लंघन भएको भन्दै स्पष्टीकरण मागेको हो । जानुका पाठकलाई उम्मेदवारमाथि हत्यारा, बलात्कारी जस्ता शब्द प्रयोग गर्दै घृणाजन्य टिप्पणी गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ ।

आयोगले उम्मेदवारहरूसँगै स्वास्थ्य स्वयंसेवक संघले अनुमति नलिई आचारसंहिता लागू भएपछि अधिवेशन गरेको र शिक्षक सरुवासम्बन्धी एक घटनामा समेत स्पष्टीकरण सोधेको जनाएको छ । यसरी आयोगले पछिल्लो चरणमा कुल ७ वटा स्पष्टीकरण जारी गरेको हो । निर्वाचन आयोगले सबै पक्षलाई निर्वाचन आचारसंहिता, प्रचलित कानून र लोकतान्त्रिक मूल्य–मान्यताको पालना गर्न पुनः सचेत गराउँदै तोकिएको समयभित्र जवाफ नआए कानुनी कारबाही अघि बढ्न सक्ने संकेत दिएको छ ।

 

 

रोस्टरमै रोकिए भविष्यका सपना : कोरिया जान नपाएका युवाको माइतीघरमा आक्रोश

काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जाने सपना बोकेका तर वर्षौदेखि रोस्टरमै अल्झिएका युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा सूचीकृत भएका युवाहरू रोजगारदाताको छनोटमा नपरेपछि आन्दोलित बनेका हुन् ।

भाषा र सीप दुवै परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै उनीहरू विगत सात महिनादेखि निरन्तर आन्दोलनमा छन् । मंगलबार माइतीघरमा भेला भएका युवाहरूले रोस्टरको अवधि बढाउनु पर्ने, भाषा परीक्षा पास गरेपछि रोजगारीको सुनिश्चितता हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका थिए । यसअघि उनीहरूले ग्वार्कोस्थित ईपीएस कोरिया शाखा कार्यालय अगाडि पनि प्रदर्शन गरेका थिए ।

ईपीएस प्रणालीअनुसार भाषा तथा सीप परीक्षा पास गरेपछि मात्र कोरिया जाने बाटो खुल्दैन । रोस्टरमा नाम समावेश भएपछि कोरियाली रोजगारदाताले छनोट गरेपछि मात्र कामका लागि जान पाइन्छ । तर रोस्टरमा नाम दुई वर्षसम्म रहँदा पनि रोजगारदाताको छनोटमा नपरेमा उम्मेदवारको नाम स्वतः हटाइन्छ । त्यसपछि पुनः कोरिया जान चाहनेले फेरि भाषा परीक्षा दिएर सम्पूर्ण प्रक्रिया दोहोर्‍याउनु पर्ने बाध्यता छ ।

यही व्यवस्थाले आफूहरू अन्यायमा परेको प्रदर्शनकारी युवाहरूको गुनासो छ । विशेषगरी कृषि तथा पानीजहाज निर्माण (सिपबिल्डिङ) क्षेत्रमा आवेदन दिएका धेरै युवाहरू भाषा पास भएर पनि छनोटमा नपरेको उनीहरूको भनाइ छ । ‘भाषा पास गर्नु सजिलो छैन, लाखौं खर्च र वर्षौ मेहनतपछि पनि फेरि सुरुदेखि प्रक्रिया दोहोर्‍याउनु अन्याय हो’, एक आन्दोलनरत युवाले बताए।

दक्षिण कोरियाले सन् २००८ देखि ईपीएस प्रणालीमार्फत नेपालसहित विभिन्न देशबाट अदक्ष कामदार लैजाँदै आएको छ । हालसम्म यस प्रणालीमार्फत एक लाखभन्दा बढी नेपाली युवाहरू कोरिया पुगिसकेका छन् । सन् २०२५ का लागि कोरियाले उत्पादनमूलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय गरी करिब ५ हजार कोटा निर्धारण गरेको छ । तर उक्त कोटाका लागि एक लाखभन्दा बढी युवाहरूले आवेदन दिएका छन्, जसका विभिन्न चरणका परीक्षा सञ्चालन भइरहेका छन् ।

ईपीएस कोरिया शाखाका अनुसार हाल भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा मात्रै १२ हजारभन्दा बढी युवाको नाम रहेको छ । शाखाले रोस्टरमा रहेका युवाहरूले जुलुस, धर्ना र आन्दोलन जस्ता गतिविधि बढाउँदै जाँदा समग्र प्रक्रियामा नकारात्मक असर पर्ने भन्दै चिन्ता व्यक्त गरेको छ । यता आन्दोलनरत युवाहरू भने आफ्ना माग सम्बोधन नभएसम्म संघर्ष जारी रहने चेतावनी दिँदै आएका छन् । उनीहरूको मुख्य माग-रोस्टर अवधि विस्तार, भाषा पास गरेपछि रोजगारीको स्पष्ट सुनिश्चितता र लामो समय कुर्न बाध्य पार्ने प्रणालीमा सुधार—अहिलेसम्म सम्बोधन हुन सकेको छैन ।

तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

 

फोटो खिचेर, हात हल्लाएर ‘छु–मन्तर’ हुन्न : गगन थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ का उम्मेदवार गगन थापाले चुनावी राजनीतिमा देखिँदै आएको ‘आए–गए’ प्रवृत्तिलाई अस्वीकार गर्दै सर्लाहीलाई आफ्नो कर्मथलो बनाउने स्पष्ट प्रतिवद्धता जनाएका छन् । सर्लाही पुगेका थापाले मतदाता र कार्यकर्तासँगको अन्तरक्रियामा आफू फोटो खिचेर, हात हल्लाएर ‘छु–मन्तर’ हुने नेता नभएको बताएका हुन् ।

बलरा नगरपालिकामा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै थापाले भने, ‘चुनाव आयो, हेलिकप्टर चढेर आयो, फोटो खिचायो, हात हल्लायो र जितेपछि हरायो– यस्तो राजनीति म गर्दिनँ ।’ उनले आफू पार्टीको जिम्मेवारीका कारण अन्य क्षेत्रमा जानु परे पनि सकेसम्म बढी समय सर्लाहीमै बसेर जनतासँग घुलमिल हुने बताए ।

थापाले आफूलाई ‘पाहुना नेता’ का रूपमा नहेर्न मतदातासँग आग्रह गरे । ‘म मत माग्न मात्रै आएको होइन, यहाँका जनतासँग दीर्घकालीन सम्बन्ध गाँस्न आएको हुँ’, उनले भने, ‘जति समय लाग्छ, म यहीँ बसेर तपाईंहरूकै मान्छे बन्न चाहन्छु ।’
कार्यक्रममा केही सहभागीले स्थानीय भाषामा दुई–चार शब्द बोलेर सम्बोधन गर्न सुझाव दिए पनि थापाले त्यसलाई सस्तो लोकप्रियताको अभ्यास भन्दै अस्वीकार गरे । ‘रातभरि रटेर दुई लाइन बोलेर नाटक गर्न मलाई आउँदैन’, उनले स्पष्ट पारे, ‘म ६ महिना, ८ महिना वा एक वर्ष समय लगाएर भाषा सिक्छु, अनि माइक समातेर यहीँको भाषामा आत्मविश्वासका साथ बोल्छु ।’

आफ्नो संसदीय अनुभव स्मरण गर्दै थापाले काठमाडौंमा गैरनेवार भएर पनि नेवार समुदायको संस्कृति, जात्रा र पर्वसँग आफू कसरी घुलमिल भएको उदाहरण प्रस्तुत गरे । ‘जसरी काठमाडौंमा सबै समुदायको विश्वास जितें, त्यसैगरी सर्लाहीका जनताले पनि मलाई आफ्नै छोरा, भाइ वा साथीका रूपमा स्वीकार गर्ने वातावरण बनाउनेछु’, उनले विश्वास व्यक्त गरे ।

नौटङ्की र चटके भाषणभन्दा जिम्मेवार नेतृत्वमा आफू विश्वास गर्ने थापाको भनाइ छ । उनले आगामी दिनमा वडागत छलफलमार्फत कार्ययोजना बनाइने र त्यसको कार्यान्वयनमा सबैलाई सहभागी गराइने बताए । ‘अब भाषणभन्दा कामको समय हो’, उनले भने, ‘फागुन २१ सम्म हामी व्यवस्थित छलफल गरेर स्पष्ट कार्ययोजनामा जान्छौँ ।’ थापाले चुनावी अभियानका क्रममा केही दिन निरन्तर सर्लाहीमै बसेर घरदैलो कार्यक्रम गर्ने र काठमाडौंका अपरिहार्य पार्टी काम सकेर पुनः यही क्षेत्र फर्किने योजना समेत सुनाएका छन् । उनका अनुसार सर्लाही–४ का जनताको अभिभावक बनेर जिम्मेवारी निर्वाह गर्नु नै आफ्नो राजनीतिक लक्ष्य हो ।

 

पर्वतमा ‘हेभिवेट’ प्रतिष्पर्धा : गिरीको ह्याट्रिक दाउ, जोशी चौंथो जितको खोजीमा

काठमाडौं। आगामी २१ फागुनमा हुने आमनिर्वाचनसँगै मध्यपहाडी जिल्ला पर्वतमा राजनीतिक तापक्रम चर्किँदै गएको छ। यो पटक पर्वतमा विभिन्न दल तथा स्वतन्त्र गरी १७ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। विगतमा पनि कडा प्रतिस्पर्धा हुने जिल्लामध्ये पर्दै आएको पर्वत यसपालि ‘हेभिवेट’ भिडन्तका कारण देशभरकै ध्यान खिचिरहेको छ।

पर्वतमा नेकपा एमालेका पदम गिरीले पछिल्ला दुई प्रतिनिधिसभा निर्वाचन जित्दै बलियो पकड बनाइसकेका छन्। २०७४ र २०७९ दुवै निर्वाचनमा उनले नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीलाई पराजित गरेका थिए। यस पटक पनि गिरी एमालेको तर्फबाट प्रत्याशी बनेका छन्। ओली नेतृत्वको सरकारले उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी समेत दिएको थियो। हाल उनी एमालेको केन्द्रीय सदस्य तथा जिल्लाका इन्चार्ज छन्। लगातार तेस्रो जित निकाल्दै ‘ह्याट्रिक’ बनाउने लक्ष्यसहित गिरी चुनावी मैदानमा छन्।

उता, नेपाली कांग्रेसले पुनः अर्जुनप्रसाद जोशीलाई नै उम्मेदवार बनाएको छ। लगातार दुई हारपछि जोशी पुनरागमनका प्रयासमा छन्। २०५६ मा पहिलो पटक संसद् प्रवेश गरेका जोशीले २०६४ र २०७० को संविधानसभा तथा २०५६ को संसदीय चुनाव जित्दै पर्वतमा तीनपटकको ‘ह्याट्रिक’ गरेका थिए। तर पछिल्ला दुई निर्वाचनमा भने उनलाई एमालेका गिरीसँग पराजित हुनुपरेको थियो। कांग्रेस केन्द्रीय सदस्य समेत रहेका जोशीका लागि यो चुनाव ‘अपेक्षा पुनः स्थापित गर्ने’ अवसरका रूपमा हेरिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मनहरि शर्मालाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सागर भुसाल मैदानमा छन्। माओवादी केन्द्रका तर्फबाट कृष्णबहादुर विक प्रतिस्पर्धामा छन्। यस्तै राप्रपाका दुर्गाबहादुर मल्ल, मजदुर किसान पार्टीका ऐलिना सुवाल, आम जनता पार्टीकी पवित्रा मल्ल, राष्ट्रिय जनमोर्चाका भिमलाल न्यौपाने लगायतले मनोनयन दर्ता गराएका छन्।

राष्ट्रिय जनमुक्ति पार्टीकी माया पाईजा पुन फकामी मगर, उज्यालो नेपाल पार्टी (उनेपा) का यमबहादुर चोचांगी पुन, मंगोल नेशनल अर्गनाइजेसनकी लालकुमारी थापा राना र नेसनल रिपब्लिक नेपालका बीरबहादुर गुरुङ पनि प्रतिस्पर्धामा छन्। सीतादेवी शर्मा, सावित्री शर्मा, मिना पौडेल शर्मा र गंगालाल रिमाल स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्।

पर्वतमा २०४८ यताको सातमध्ये चार संसदीय निर्वाचन नेपाली कांग्रेसले जितेको छ भने तीन पटक एमाले विजयी भएको इतिहास छ। २०५१, २०५६, २०६४ र २०७० मा कांग्रेस विजयी भएको यो क्षेत्र पछिल्ला दुई निर्वाचनमा भने एमाले हाबी भयो । २०४८ सालमा भएको संसदीय निर्वाचनमा एमाले विजयी भएको थियो। 

यस पटक भने रास्वपा, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टीजस्ता नयाँ राजनीतिक शक्ति र वैकल्पिक धाराका दलहरूले पारम्परिक ध्रुवीकरण तोड्दै चुनावी परिणामलाई थप अनिश्चित बनाइदिइने अनुमान गरिएको छ। वैकल्पिक शक्तिको प्रभावले परम्परागत ठूला दलबीचको प्रतिस्पर्धामा नयाँ समीकरण बन्न सक्ने विश्लेषकहरूको बुझाइ छ। पर्वतको प्रतिनिधिसभा निर्वाचन यसपालि पनि कडा, रोचक र बहुआयामिक बन्ने देखिएको छ ।

मेलम्ची बग्यो, सवाल उठ्यो : जलवायु अपराधको मूल्य कसले तिर्छ ?

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा २०७८ सालमा उर्लिएको बाढी केवल मौसमी विपद् थिएन, त्यो जलवायु परिवर्तनको एउटा भयानक संकेत थियो । उच्च हिमाली क्षेत्रबाट शुरु भई तल्लो तटीय क्षेत्रसम्म विनाश लीला मच्चाएको यो घटनालाई विज्ञहरूले अब अन्तर्राष्ट्रिय ‘हानी नोक्सानी कोष’ (एफआरएलडी) बाट सहायता प्राप्त गर्ने प्रमुख आधार बनाउनु पर्नेमा जोड दिएका छन् । भर्खरै स्थापित यस कोषले प्रस्ताव आह्वान गरिरहँदा मेलम्चीको घटलालाई वैज्ञानिक र तथ्यपरक ढंगले पेश गर्न सके नेपालले जलवायु न्यायको लडाईंमा ठूलो फड्को मार्न सक्ने देखिएको छ ।

विपद्को वैज्ञानिक र स्थानीय आयाम
जलवायुजन्य विपद्को प्रकृति बुझ्न मेलम्ची एउटा खुला प्रयोगशाला जस्तै हो । जलवायु विज्ञ डा. अरुणभक्त श्रेष्ठकाअनुसार यो विपद् ‘क्यास्केडिङ हाजार्ड’ (श्रृङ्खलावद्ध जोखिम) को उत्कृष्ट नमूना हो, जहाँ एउटा घटनाले अर्को विपद्लाई निम्त्याउँदै क्षतिको श्रृङ्खला खडा गर्छ । यो उच्च हिमाली क्षेत्रबाट उद्गम भएका विपदहरू, जसमा मेलम्ची पनि पर्दछ, यसमा जलवायु परिवर्तनको योगदान देखाउन अन्य घटनाहरू भन्दा सजिलो हुन्छ’, डा. श्रेष्ठ भन्छन्, ‘यसमा प्रत्यक्ष रूपमा योगदान छ भनेर देखाउन सकिन्छ ।’

विज्ञको यो वैज्ञानिक तर्कलाई हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन लामाको स्थानीय भोगाइले थप पुष्टि गर्छ । जलवायु परिवर्तनले कसरी स्थानीय अर्थतन्त्रको ढाड सेकेको छ भन्ने उदाहरण दिँदै उनी भन्छन्, ‘हेलम्बुको स्याउ त अब विश्वमै चर्चित थियो, त्यो अहिले ध्वस्त भयो । जलवायु परिवर्तनको कारणले चिसो हुने ठाउँ तातो बन्दै गएको छ ।’ उनकाअनुसार बाढीलाई मौसमी विपद् मात्र भन्न सकिँदैन, यसले त विकासको मोडेलमै प्रश्न उठाएको छ । ‘मेलम्ची खानेपानीको मुहान त्यही छ, बाढीले मुहान पुर्‍यो । हामीले एडिबीसंग ऋण लियौं’, अध्यक्ष लामाले तीतो यथार्थ पोखे, ‘जलवायु परिर्वतनका कारण घटना भयो, हामीले उल्टो तिरिरहेका छौँ ।’

तथ्याङ्कमा क्षतिको भयावह तस्वीर
स्थानीयको यही पीडासँगै अध्ययनहरूले अर्बौंको क्षतिको आँकडा बाहिर ल्याएको छ । प्रतिवेदनहरूअनुसार मेलम्ची र हेलम्बु गरी दुई स्थानीय तहमा मात्रै ६४ करोड ५६ हजार अमेरिकी डलर अर्थात् ८७ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी भएको छ । जसमध्ये मेलम्ची नगरपालिकामा करिव ५९ अर्ब ३० करोड र हेलम्बुमा २७ अर्ब ८२ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ ।

अझ कहालीलाग्दो अवस्था त घरधुरीस्तरमा छ । प्रतिघरधुरी औसत ५२ हजार ११३ डलर (करिब ७० लाख रुपैयाँ) को सम्पत्ति गुम्दा पीडितले पाएको राहत भने नगण्य छ । विज्ञ डा. वसन्त अधिकारी यही तथ्यलाई अन्तर्राष्ट्रिय मञ्चमा ‘केस स्टडी’ का रूपमा लैजानु पर्ने सुझाउँछन् । ‘बाढीले गरेका आर्थिक र गैरआर्थिक क्षतिहरुलाई सबभन्दा पहिला लिस्टिङ गर्नु पर्‍यो’, डा. अधिकारीको जोड छ, ‘हामीले उत्सर्जन नगरेको कार्बनले गर्दा हाम्रो मेलम्ची जस्तो सानो बेसिनमा यत्रो ठूलो असर हुन्छ भने यसलाई केस स्टडी बनाएर अगाडि लानु पर्छ ।’

मनोसामाजिक क्षतिको गहिराई
भौतिक सम्पति त पुनर्निर्माण गर्न सकिएला, तर बाढीले मनमा लगाएको घाउ पुर्न कठिन छ । प्रकृति रिसोर्सेस सेन्टरको अध्ययनलाई उद्धृत गर्दै अध्ययता स्नेहा राईले मेलम्ची र हेलम्बुमा ८५ प्रतिशत प्रभावितहरू मनोसामाजिक समस्यासँग जुधिरहेको बताइन् । ‘हाम्रो अध्ययनमा कल्चरल र साइको–सोसल इम्प्याक्ट मेलम्ची र हेलम्बुमा म्यासिभ देखियो’, राई भन्छिन्, ‘दृश्य र अदृश्य सांस्कृतिक सम्पदाहरू एकअर्कासँग जोडिएका हुन्छन् र यसको डाइनामिक्स धेरै नै गहिरो हुन्छ । यी विषयलाई पनि प्रस्तावमा समेटिनु पर्छ ।’

रणनीति र आगामी बाटो
क्षतिको विवरण तयार भए पनि त्यसलाई कोषसम्म पुर्‍याउने प्रक्रिया भने प्राविधिक र चुनौतीपूर्ण छ । वन तथा वातावरण मन्त्रालयका जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकाल मेलम्चीलाई कोषको सहयोगका लागि ‘पोटेन्सियल क्यान्डिडेट’ मान्छन् । तर यसका लागि बलियो तयारी चाहिने उनको बुझाइ छ । ‘प्रस्ताव पेस त गर्नुपर्‍यो, तर हामीसँग हिजो र आजको फरक देखाउन सक्ने डेटाबेस र क्षमता आवश्यक पर्छ’, डा. ढकाल भन्छन्, ‘कुनै एउटा एक्रिडिटेड इन्टिटीले मेलम्चीको केसलाई इस्यु बनाएर लानु पर्छ ।’ यही सन्दर्भमा, जलवायु वित्तविज्ञ राजु पण्डित क्षेत्रीले स्रोत साधनको अभाव टार्न नीतिगत सुधारको खाँचो औंल्याए । ‘मेलम्ची बाढीलाई हानी तथा नोक्सानीको मुद्दासँग जोडेर स्रोत साधन जुटाउनुपर्ने छ’, उनी भन्छन्, ‘स्रोत साधन नपुग्दा हामीले बहुआयामिक प्रयास गर्नपर्छ ।’

दाबीलाई कसरी बलियो बनाउने भन्ने सन्दर्भमा विज्ञ हेमन्त ओझाको सुझाव ‘स्मार्ट’ रणनीतिमा केन्द्रित छ । सबै कुरालाई एउटै डालोमा हाल्दा दाबी कमजोर हुनसक्ने भन्दै उनले सचेत गराए । उनी भन्छन्, ‘सबै हानी नोक्सानीको कुरालाई लस एण्ड ड्यामेज फ्रेमभित्र पार्नु हुँदैन जुन कुरा अन्य स्रोतबाट समाधान हुन सकेको छैन, त्यसलाई दस्तावेजीकरण र क्वान्टिफाई गरेर लैजानु पर्छ । यो गर्दा मात्र नेपालको दाबी बलियो र प्रतिष्पर्धी हुन्छ ।’ मेलम्चीको बाढी नेपालका लागि केवल एक विपद्को कथा मात्र होइन, यो जलवायु न्याय प्राप्तिको एउटा अवसर पनि हो । यदि नेपालले विज्ञहरूले सुझाए जस्तै वैज्ञानिक प्रमाण, विस्तृत तथ्याङ्क र मानवीय संवेदनालाई एकै ठाउँमा मिसाएर सशक्त प्रस्ताव पेश गर्नसक्यो भने, ८७ अर्बको यो क्षतिपूर्ति दाबी हानी नोक्सानी कोषको प्रभावकारिता जाँच्ने ऐतिहासिक कोशेढुङ्गा बन्न सक्छ ।

 

प्रधानमन्त्री कार्कीले गरिन् निर्माणाधीन काठमाडौँ–तराई द्रुतमार्ग निरीक्षण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट टयाक) निरीक्षणमा गरेकी छन् । मंगलबार बिहान ललितपुरको खोकनाबाट प्रधानमन्त्री कार्कीसहितको टोलीले द्रुतमार्ग निरीक्षण गरेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिएका छन् । प्रधानमन्त्री कार्कीसँगै भौतिक पूर्वाधारमन्त्री माधव चौलाई, परराष्ट्रमन्त्री बालानन्द शर्मा, नेपाली सेनाको प्रमुख अशोक सिग्देल लगायतले पनि द्रुतमार्गको निरीक्षण गरेका छन् ।

सरकारले काठमाडौँ–तराईमधेश द्रुतमार्गलाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेर निर्माण गरिरहेको छ । यस राजमार्गको निर्माण नेपाली सेनाले गरेको हो । ललितपुरको खोकनाबाट बाराको निजगढसम्म यसको दूरी ७०.९७ किलोमिटर छ । यस राजमार्गमा अहिलेसम्म विशेष प्रकृतिका १३ वटा पुल निर्माण भइसकेका छन्। कतिपय पुल ८२ मिटरसम्म उचाइका छन् ।

आयोजनाका विभिन्न खण्डमा करिब १३ किलोमिटर लम्बाइका कुल ८९ वटा पुल निर्माण गर्ने तयारी छ । राजमार्गको ३३.६२ प्रतिशत खण्डमा पुल र सुरुङ निर्माण भइरहेको नेपाली सेनाले जनाएको छ । सबै पुलको कुल लम्बाइ १२.८८५ किलोमिटर छ । यस आयोजनाको काठमाडौँतर्फबाट प्रस्थानविन्दुका रूपमा रहेको खोकनामा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण त्यहाँ निर्माण कार्य अघि बढ्न सकेको छैन । त्यस क्षेत्रमा निर्माण हुने चार वटा पुलको अहिलेसम्म ठेक्का प्रक्रिया समेत अगाडि बढेको छैन । राजमार्गको कतिपय ठाउँमा सडक कालोपत्र गर्ने काम समेत सुरु भइसकेको छ ।

‘म स्टुडेन्ट हुँ’ भन्दा खुट्टामा गोली : देश बनाउने सपना बोकेकी एकताको पीडा

काठमाडौं । देशभर अहिले चुनावी माहोल छ । दल र उम्मेदवारहरु आआफ्नो रणनीति बनाउन व्यस्त छन् । आज १८ वर्ष पुगेकी भक्तपुरकी एकता साहलाई भने यस्ता कुराले छोएको छैन । भलै उनी जस्तै युवाले गर्दा आज ती व्यक्ति र दलले चुनावी तयारीमा जुट्ने अवसर पाएका हुन् । १२ कक्षा पढेर चिकित्सक बन्ने सपनामा अघि बढेको एकताको भाद्र २३ गते बानेश्वरमा भएको जेनजी प्रदर्शनका क्रममा खुट्टामा गोली लागेको थियो । अहिले उनी अलिअलि हिड्न सक्छिन् तर उनको खुट्टा सन्चो हुने नहुने यकिन छैन । अझै उनको खुट्टाको अपरेसन बाँकी छ ।

गोली लागेर घाइते भएकी एकतालाई भेट्न न त कुनै जेनजी अगुवा भन्ने पुगेका छन् न त प्रधानमन्त्री, सांसद बन्ने रेसमा रहेका नेता नै गएका छन् । सबैको एजेण्डा देश बनाउने छ । तर जसले देश साँच्चिकै बन्नु पर्छ भन्दा गोली खाइन् उनलाई कसैले सोध्न आएको छैन–तिम्रो स्वास्थ्य कस्तो छ ?

‘अब त टुपी कसेर पढ्ने हो–आइ लभ स्टडी –आइ क्यान डु डिस,’ एकता साहको कोठाभरी यस्तै सन्देश टाँसिएका छन् । पढ्न निकै रुचाउने उनले हातैले विभिन्न चित्रसहित शब्द कोरेर कोठा सजाएकी हुन् । तर, यही स्टडी रुममा एकता नपुगेको करिब ५ महिना हुन लाग्यो । कोठामा एकताका किताबहरु छरप्रष्ट छन् । भित्तामा गणितका फर्मुला र विज्ञानका महत्वपूर्ण कुरा स्टिकी नोटमा लेखेर टाँसिएको छ । विद्यार्थी हुँदा उनी जहिलै अब्बल । किताबी शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि उनको मन लाग्ने । त्यसैले कोठाभरी उनले पाएका पुरस्कार सजिएको छ । कोठामै झुण्डिएको छ उनी पढेको सैनिक आवासीय महाविद्यालयको क्यालेन्डर पनि । कक्षा १२ उत्तीर्ण भएर उनले ए प्लास ल्याएकी थिइन् । सोही क्यालेन्डरमा उनले त्यही पल सम्झिएर लेखेकी थिइन्–थ्यांक यु युनिभर्स !

अस्पतालको लामो बसाई पछि खुट्टामा चोट लिएर घर पुगे पनि उनमा छुट्टै आत्मविश्वास देखिन्छ अहिले पनि । त्यसैले त हिँड्न नसक्ने अवस्थामा पनि उनले मनोबल बढाइन्, चिकित्सक बन्न पार गर्नुपर्ने सीईई परीक्षामा सहभागी भइन् र नाम समेत निकालिन् । आमा बुनु शाहीले विज्ञान विषयका पुस्तक र नोट छोरीको खाटसँगै राखिदिएकी छन् । तर, एकतालाई अब पहिलाझैं ती किताबमा मन छैन । एकतालाई लाग्दो हो, ‘खै यो खुट्टा ठिक हुने हो कि होइन ।’

यस्तै प्रश्नले होला सायद एकताले तय गरेको शैक्षिक शिखर हासिल गर्न उनलाई अप्ठेरो लागिरहेको छ । तर, आमा बुनु भने छोरीको हिम्मत बनेर बसिरहेकी छन् । तत्कालीन सरकारले केही सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएसँगै सूचनाको सहारा बनेको थियो टिकटक । त्यही टिकटकमा भाद्र २३ गते बानेश्वरमा भ्रष्टाचारको विरोधमा प्रदर्शन गर्ने सूचना फैलियो । टिकटकभर नेपोबेबी ट्रेन्ड थियो । तिनै भिडियोले एकतालाई पनि बानेश्वरमा हुने प्रदर्शनमा जाउँ जाउँ बनायो । भाद्र २३ गते बिहानै एकता कलेज ड्रेस लगाएर तयार भइन् । घरमै भएको हेल्मेट लगाइन् र पानीको बोटल बोकिन् ।
प्रविण रानाभाट / नेपाल फोटो लाइब्रेरी

ओखलढुंगामा दम्पतीको हत्या

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा वृद्ध दम्पतीको विभत्स हत्या भएको छ । भदौरेको बोहोरे टोलमा ८० वर्षीय चन्द्र विक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको लुटपाटपछि हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । एक महिनाअघि पनि चिशंखुगढी भदौरेमा ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगरको हत्या भएको थियो ।

वडाअध्यक्ष बलराम कटवालका अनुसार दम्पतीले सञ्चालन गर्दै आएको सानो पसलमा लुटपाट गरी दुवैको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले घटनास्थलमा प्रहरी पुगेको बताए । उनले आफू पनि घटनास्थल जाँदै गरेको बताए । यसअघि मगर दम्पतीको हत्यामा संलग्न आरोपमा ४ जना पक्राउ परेका छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

सकियो समानुपातिकको मतपत्र छपाइ, प्रत्यक्षको शुरू

काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सकिएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो ।

केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले समानुपातिकतर्फको मतपत्र छपाइ पूरा भएपछि प्रत्यक्षतर्फको शुरू भएको जानकारी दिए । उनका अनुसार केन्द्रले सोमबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ शुरू गरेको छ । केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाइसकेको थियो । ती मतपत्र मतदाता सचेतना तथा अन्य कामका लागि प्रयोग भइरहेका छन् ।

यसैगरी, नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत् बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।

आयोगले बैंक खाता बन्द गर्न लगाउँदासम्म सञ्चालन हुनेगरी उक्त आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा खाता खोल्न सकिने उल्लेख गरिएको छ । आमनिर्वाचन अभियान समूहका नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्नसक्ने गरी खाता खोल्ने व्यस्था गरिएको छ ।

प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने समानुपातिक एवं प्रत्यक्ष उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको छुट्टै खाता खोली सञ्चालनको व्यवस्था मिलाउन केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको छ ।

बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सचिव पौडेललाई

काठमाडौं । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदको जिम्मेवारी प्रदान गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मको लागि पौडेललाई प्राधिकरणको सञ्चालक समिति अध्यक्षको तोक्ने गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

बैठकले विभिन्न ५ वटा जलविद्युत आयोजनालाई वन क्षेत्रको प्रयोग गर्न स्वीकृति प्रदान गरेको पनि अर्यालले बताए । उनकाअनुसार बैठकले सुतिखोला जलविद्युत आयोजना, तामाकोसी पाँचौँ जलविद्युत आयोजना, माथिल्लो संखुवासभा जलविद्युत आयोजना र सेतीखोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति दिएको हो ।

कास्कीका तीन क्षेत्रमा ४५ उम्मेदवारको प्रतिस्पर्धा : कहाँ को छन् मैदानमा ?

काठमाडौं। गण्डकी प्रदेशको राजधानी रहेको कास्कीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तीनवटा निर्वाचन क्षेत्रबाट ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राजनीतिक दलबाट ३९ र ६ स्वतन्त्रसहित कुल ४५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । यसपटक कास्कीका सबै क्षेत्रमा पुराना तथा नयाँ अनुहारको रोचक भिडन्त हुने देखिएको छ। कास्की–१ मा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी(उनेपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका उम्मेदवार बीच प्रतिस्पर्धा हुँदैछ। 

एमालेले यस क्षेत्रमा स्थानीय स्तरमा सक्रिय नेताका रूपमा उदाएका बैनबहादुर क्षेत्रीलाई अघि सारेको छ। २०७४ को स्थानीय तहबाट जिल्ला समन्वय समितिका प्रमुख बनेका क्षेत्री पहिलोपटक संघीय तहमा प्रतिस्पर्धा गर्न लागेका हुन्। कांग्रेसले कास्की–१ मा तिलकबहादुर रानाभाटलाई उम्मेदवार बनाएको छ। २०४६ सालदेखि राजनीतिमा सक्रिय रानाभाट हालै सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यका रूपमा निर्वाचित भएका थिए। कास्की–१ लाई कांग्रेस गण्डकीको ‘आधार क्षेत्र’ मानिँदा रानाभाटको उम्मेदवारीले क्षेत्रको चुनाव थप चासोको विषय बनेको छ। 

नेकपाले जनयुद्धकालदेखि सक्रिय नेता राजकाजी गुरुङ ‘करण’ लाई टिकट दिएको छ। एमालेको पकड क्षेत्र मानिँदै आएको कास्की–१ मा करणको प्रवेशसँगै परिणाममा उथलपुथल हुने विश्लेषण भइरहेका छन् ।  रास्वपाले लेखक खडकराज पौडेल ‘गनेस’ लाई अघि सारेको छ। उनी पछिल्लो समय उपन्यास ‘पैताला’मार्फत चिनिएका साहित्यकार हुन्। उनले २०७९ मा पोखरा महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले रास्वपाका वरिष्ठ नेता तथा काठमाडौँ महानगरका पूर्वप्रमुख बालेन्द्र शाह ‘बालेन’ को टिमबाट टिकट पाएका हुन्। उनेपाले कास्की–१ मा खगोल वैज्ञानिक मनिषा द्वालाई उम्मेदवार बनाएको छ भने राप्रपाले बाबुराम थापामाथि भरोसा गरेको छ। यसअघिको निर्वाचनमा कास्की–१ एमालेका मानबहादुर गुरुङले जितेका थिए।

यो क्षेत्रमा रुपा, मादी गाउँपालिका तथा पोखरा महानगरका १०, १२, १३, १४, २७, २८, २९, ३० र ३२ नम्बर वडाहरू पर्दछन्।

कास्की–२ : एमालेको बलियो आधार क्षेत्रमा नयाँ अनुहारको भिडन्त

कास्की–२ मा प्रतीनिधिसभा निर्वाचनको लागि आठ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।  २०६४ यता निरन्तर विजय हासिल गर्दै आएको एमालेले यसपटक यो क्षेत्रमा रश्मी आचार्यलाई अघि सारेको छ। कृष्णबहादुर थापाको अपेक्षित उम्मेदवारी अन्तिम समयमा परिवर्तन गर्दै एमालेले रश्मीलाई टिकट दिएको हो। यस क्षेत्रबाट दिवंगत एमाले नेता रविन्द्र अधिकारीले तीनपटक जित हासिल गरेका थिए भने पछिल्ला दुई निर्वाचन(उपनिर्वाचन २०७६ र प्रतिनिधिसभा निर्वाचन २०७९) रविन्द्र पत्नि विद्या भट्टराईले जितेकी थिइन्।

कांग्रेसले गण्डकी प्रदेश समितिका प्रवक्ता माधव बास्तोला ‘मधु’लाई उम्मेदवार बनाएको छ । मधुको प्रवेशले कास्की–२ को प्रतिस्पर्धा झनै रोचक बन्ने देखिएको छ । नेकपाले पूर्व माओवादी सैन्य कमान्डर किरण थापा ‘आमोद’लाई टिकट दिएको छ। थापा युद्धकालीन गतिविधिका कारण चर्चामा आएका थिए र हालै मात्रै नेकपा प्रवेश गरेका हुन्।

रास्वपाबाट पूर्वपत्रकार उत्तम पौडेल प्रतिस्पर्धामा छन्। उनी न्युज-२४ टेलिभिजनमा रवि लामिछानेको टिममा रहँदै कास्कीबाट पत्रकारिता गर्दै आएका थिए। उनेपाले उर्जाविद् कुशल गुरुङलाई मैदानमा उतारेको छ भने राप्रपाले केन्द्रीय उपाध्यक्ष हेमजंग शाहीलाई उम्मेदवारी दिएको छ। 

कास्की–२ मा पोखरा महानगरका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ नम्बर वडाहरू समावेश छन्।

कास्की–३ : एमालेका बैरागी दोहोरिदै, कांग्रेस र नेकपाका नयाँ अनुहार

कास्की–३ मा एमालेबाट अघिल्लो निर्वाचनका विजयी उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ पुनः मैदानमा उत्रिएका छन्। २०७४ को स्थानीय तहमा वडासदस्यमा पराजित भएका बैरागीले २०७९ मा भने उल्टो संघीय निर्वाचन जितेका थिए। यसपटक यो क्षेत्रमा नेकपाले नयाँ अनुहार गोपाल गिरीलाई प्रतिस्पर्धामा उतारेको छ। सुरुमा नेकपाबाट यो क्षेत्रमा प्रेम पौडेलले टिकट पाउने चर्चा थियो तर उनी पारिवारिक कारणले पछि हटेपछि गिरीलाई टिकट दिइएको हो।

कांग्रेसले देउवा समूहका नेता मनोज गुरुङलाई उम्मेदवार बनाएको छ । उनी तरुण दल हुँदै पार्टी राजनीतिमा सक्रिय बनेका नेता हुन्।  रास्वपाले युवा व्यवसायी बिना गुरुङलाई अघि सारेको छ भने उनेपाले तर्कबहादुर गुरुङलाई टिकट दिएको छ। राप्रपाले केन्द्रीय सदस्य अर्जुन खनाललाई कास्की–३ मा उम्मेदवार बनाएको छ।

यस क्षेत्रमा २०४८ यताका सात निर्वाचनमध्ये पाँचमा एमाले विजयी भएको छ। कास्की–३ मा अन्नपुर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरका १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ नम्बर वडाहरू पर्दछन् । 

अघिल्लो चुनावमा कास्कीका तीनै क्षेत्रमा एमाले विजयी भएको थियो। कास्की–१ मा मानबहादुर गुरुङ, कास्की–२ मा विद्या भट्टराई र कास्की–३ मा दामोदर पौडेल ‘बैरागी’ त्यतिबेला निर्वाचन जिते। यसपटक कास्कीका तीनै क्षेत्रमा नयाँ तथा पुराना उम्मेदवारको प्रतिस्पर्धाले चासोको विषय बनेको छ। एमालेले जित्दै आएको यी निर्वाचन क्षेत्रको विधायक को ? फागुन २१ को मतदानपछि ‘ब्यालेटबक्स’ ले यो प्रश्नको उत्तर दिनेछन्।

स्वदेशी चलचित्रको प्रवर्द्धन हुने गरी कानून परिमार्जन हुन्छ : कानूनमन्त्री सिन्हा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले स्वदेशी चलचित्रको विकास, विस्तार र प्रवद्र्धन हुनेगरी सो सम्बन्धि कानून परिमार्जन गर्न लागिएको बताएका छन् । सोमबार सिंहदरवारमा बसेको संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

मन्त्री सिन्हाले चलचित्र सम्बन्धि प्रचलित कानूनलाई परिमार्जनका लागि सांसदहरुले गरेका विमर्शले सिंगै देशको चाहनालाई प्रतिविम्वित गरेको समेत बताए । उनले सरकारले देशले चाहे अनुसारको चलचित्र निर्माणका लागि आवश्यक नीतिगत र कानूनी व्यवस्था गर्न चाहेको समेत बताए । चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक र मनोरञ्जनात्मक उद्योगको रुपमा विकास गर्न सरकार प्रयासरत रहेको मन्त्री सिन्हाको भनाई थियो ।

उनले भने, ‘चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक र मनोरञ्जनात्मक उद्योगको रुपमा विकास गर्न तथा स्वदेशी चलचित्रको विकास, विस्तार, प्रवद्र्धन र नियमन गर्न चलचित्र सम्बन्धि प्रचलित कानूनलाई संशोधन एवं एकीकरण गरेर यसलाई नयाँ स्वरुपमा प्रस्तुत गर्ने प्रयत्न गरेको छ । यसमा यहाँ जुन छलफल भएको छ । त्यसले धेरै हदसम्म परिमार्जन गरेको अवस्था पनि छ । र, समाजले चाहेका, देशले चाहेका विभिन्न आयामहरुलाई यसमा समेटेको अवस्था छ । यसमा मन्त्रालयको कुरा पनि समेटिएको अवस्था छ । यहाँहरुको घुनिभूत छलफलबाट जुन यो मस्यौदा बनेको छ । यसप्रति आभार व्यक्त गर्न चाहन्छु ।’ मन्त्री सिन्हाले चलचित्र सम्बन्धि कानून निर्माणका लागि भएको विचार विमर्श अति उपयोगी हुने विश्वास समेत व्यक्त गरे ।

बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहविरुद्ध निर्वाचन आयोगमा औपचारिक उजुरी दर्ता भएको छ । सामाजिक सञ्जालमार्फत दिएका अभिव्यक्तिहरू निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाको मर्मविपरीत रहेको दाबी गर्दै उजुरी दायर गरिएको हो । धर्मराज तिमिल्सिनाले निर्वाचन आयोगमा दर्ता गराएको निवेदनमा बालेन शाहले हालै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सन्दर्भमा दिएको टिप्पणीलाई लिएर आपत्ति जनाइएको छ ।

निवेदनअनुसार ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको पारदर्शी, बौद्धिक र तथ्यमा आधारित सार्वजनिक बहसको प्रस्तावको प्रत्युत्तरमा बालेन शाहले सामाजिक सञ्जालमा प्रयोग गरेका शब्दहरू लोकतान्त्रिक बहसको मर्यादाविपरीत रहेको उल्लेख गरिएको छ। निवेदनमा बालेन शाहले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा’, ‘आतंकवादी’, ‘देश जलाउने’ जस्ता शब्दहरू कुनै प्रमाण, अनुसन्धान वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर, आपराधिक र तथ्यहीन आरोप भएको दाबी गरिएको छ । यस्ता अभिव्यक्तिले सम्बन्धित व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुर्‍याउनुका साथै वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने र मतदाताको सोचमा भ्रम सिर्जना गर्ने खतरा रहेको निवेदनमा उल्लेख छ ।

‘यस किसिमका गैरजिम्मेवार अभिव्यक्तिले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त रूपमा सम्पन्न गर्ने संवैधानिक उद्देश्यलाई कमजोर बनाउँछ,’ निवेदनमा भनिएको छ, ‘यसले लोकतान्त्रिक बहसलाई नीति र विचारको तहबाट तल झारेर हिंसात्मक आरोप, अफवाह र घृणाको तहमा पुर्‍याउने काम गर्दछ ।’

निवेदकले नेपालको संविधान, निर्वाचन आचारसंहिता तथा प्रचलित कानूनले निर्वाचन अवधिमा भ्रामक सूचना, घृणात्मक अभिव्यक्ति र अपुष्ट आरोप प्रयोग गरी मतदातालाई प्रभावित पार्न स्पष्ट रूपमा निषेध गरेको स्मरण गराएका छन् । सोही आधारमा बालेन शाहका अभिव्यक्तिमाथि तथ्यपरक छानबिन गरी आचारसंहिता उल्लंघन ठहर भएमा आवश्यक कानुनी कारबाही गर्न निर्वाचन आयोगसँग माग गरिएको छ ।

यसै उजुरीमा अर्को विषय पनि समेटिएको छ । महोत्तरी लगायतका जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी प्रचारका क्रममा भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेको देखिने भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएको उल्लेख गरिएको छ । उक्त कार्य पनि निर्वाचन आचारसंहिता विपरीत भएको दाबी गर्दै त्यसको सत्यतथ्य छानबिन गरी आवश्यक कदम चाल्न निर्वाचन आयोगसँग आग्रह गरिएको छ । निर्वाचन आयोगले उजुरी प्राप्त भएको पुष्टि गरे पनि यस विषयमा आवश्यक अध्ययनपछि मात्रै आधिकारिक निर्णय सार्वजनिक गर्ने जनाएको छ ।

चुनावी तालमेलबारे हामीले सोचेका छैनौं : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै पनि दलसँग चुनावी तालमेलबारे अहिले नसोचिएको बताएका छन् । झापामा पत्रकारहरूसँगको कुराकानीमा उनले सबै क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको र चुनावी प्रचारप्रसारका काम भइरहेको बताए । ‘हामीले १६५ क्षेत्रमै आफ्नो उम्मेदवार उठाएका छौं, झापामा त एमालेको उम्मेदवार भोट मागेर हिँडिरहनु भएको छ, हाम्रो उम्मेदवार पनि भोट मागेर हिँडिरहनु भएको छ । तालमेलको कुनै सम्भावना छैन,’ अध्यक्ष लिङ्देनले भने । एमाले वा अरू कुनै दलसँग चुनावी तालमेलबारे अहिले नसोचेको पनि उनले बताए ।

अध्यक्ष ओलीका चुनावी कमाण्डर भन्छन्–विकासका विरुद्ध ‘प्रोपोगन्डा’ को लडाई

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका चुनावी कमाण्डर देवेन्द्र दाहालले झापा ५ मा विकासका विरुद्ध प्रोपोगन्डाको लडाईं भएको बताएका छन् । पूर्व प्रधानमन्त्री, मन्त्री, सांसदको हैसियतमा केपी ओलीले गरेका कामको फेहरिस्त यहाँका जनताले उपभोग गरिरहेकाले प्रोपोगन्डामा उनीहरुले विश्वास नगर्ने दाहालले बताए । केही व्यक्तिहरु सामाजिक सञ्जालमा जनतालाई भ्रम छर्ने प्रयास गरे पनि त्यसलाई स्थानीयबासीले राम्ररी बुझेको उनको भनाइ छ ।

‘सामाजिक सञ्जालमा फैलाइएका हल्ला चिर्नु हाम्रो दायित्व हो’, पार्टी केन्द्रीय सदस्य समेत रहेका दाहालले प्रचार समितिको बैठकमा बोल्दै दाहालले भने, ‘एमालेले फिजिकल्ली काम गरेको छ । डिजिटल्ली फैलाइएका अफवाहको जवाफ जनताले नै दिन्छन् ।’ झापा ५ मा एमालेलाई बिगतको मतान्तर घटाउने छुट नभएको भन्दै उनले देशी विदेशीको घेराबन्दीका विरुद्ध एमाले एकताबद्ध हुनुपर्ने दाहालको भनाइ छ । दाहालले झापा ५ मा वडा, टोल र घरघर केन्द्रीत अभियान सुरु गरिसकेको बताएका छन् ।

तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश लामा नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा पार्टीको झण्डा, नेपालको झण्डा र खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् । अध्यक्ष राजेश लामाले एमाले प्रवेश गर्न अलि ढिलो भएको बताए । कमिटीका अध्यक्ष राजेश लामासँगै जिल्ला कमिटीका सदस्य विष्णु जोशीले पनि पार्टी प्रवेश गरेका छन् ।

 

माघ लागेपछि सुन्तला टिप्दै किसान

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका छन् । देशका धेरै ठाउँका बगैँचा रित्तिएपछि उनीहरुले सुन्तला टिप्न थालेका हुन् ।दोसल्लेका किसानले विगतको तुलनामा यसपालि राम्रो मूल्य पाएका छन् । यसअघि मंसिर–पुसमा प्रतिक्रेट (बीस किलो) एक हजार ७०० मा बिक्री हुने गरेको थियो । यसपालि प्रतिक्रेट रु दुई हजार ५०० मूल्यमा बिक्री भइरहेको स्थानीय विकास श्रेष्ठले बताए ।

‘किसानले सस्तोमा सुन्तला बेच्नुपर्ने अवस्था हटाउन सबै मिलेर मूल्य निर्धारण गरेका हौं,’ उनले भने, ‘अन्यत्रको सुन्तला सकिएकाले व्यापारीले प्रतिक्रेट तीन हजार २०० सम्म मूल्य तिर्न तयार छन् ।’ बयालिस घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा गत वर्ष सुन्तलाबाट एक करोड ६० लाख भित्रिएको थियो । यसपालि दाना कम लागे पनि मूल्य बढेको र नयाँ बिरुवामा दाना लागेकाले समग्रमा गत वर्षकै अनुपातमा उत्पादन हुने अनुमान गरिएको दोसल्ले व्यावसायिक सुन्तला जात किसान समूहका अध्यक्ष प्रेम पाइजाले बताए ।

पोखरा र काठमाडौँका व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गरेपछि अहिले धमाधम सुन्तला टिप्ने काम भइरहेको छ । दोसल्लेका सबै घरले सुन्तलाखेती गरेका छन्। गाउँबाट बसाइँसराइ रोकिएको छ । पहिले बेनी, पोखरालगायत ठाउँमा बसाइँसराइ गरेकाले गाउँमा फर्किएर बाँझिएको जग्गामा सुन्तला रोपण गरेका छन् । ‘पहिले गाउँमा सामान्य जीविकोपार्जन गर्न पनि कठिन थियो, गाउँमा आम्दानीको कुनै स्रोत थिएन, आज सुन्तलाखेतीले स्थानीयलाई आर्थिक लाभ दिएको छ,’ उनले भने, ‘सुन्तलाबाटै गाउँलेको जीवनस्तर बदलिएको छ ।’

पाइजाका अनुसार दोसल्लेमा १० हजार सुन्तलाका बोट छन्। २०६८ सालमा पोखराबाट माटो परीक्षण विभागबाट विज्ञ ल्याएर माटो परीक्षण गरी सुन्तलाखेतीमा लागेका दोसल्लेवासीले हरेक वर्ष सुन्तलाखेती विस्तार गर्दै लगेका छन् ।
परम्परागत रूपमा धान, मकै, कोदो, भटमास हुने खेतबारी सुन्तलाले ढाकिएको छ । नयाँ बोटले फल दिन सुरु गरेकाले अबको केही वर्षमा यस गाउँमा सुन्तलाबाट वार्षिक रु तीन करोड बढी रकम भित्रने स्थानीयवासीको अनुमान छ । दोसल्लेका सबै घरमा सुन्तलाखेती गरिएको छ। गाउँबाट बसाइँसराइ रोकिएको छ । पहिले बेनी, पोखरालगायत ठाउँमा बसाइँसराइ गरेकाले गाउँमा फर्किएर बाझिएको जग्गामा सुन्तला रोपण गरेका छन् । सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तला खेती विस्तारमा जुटेका स्थानीय मायादेवी गर्बुजाले बताए । रासस

यातायात व्यवसायी र मजदुरका मुद्दा बोकेर चार जना व्यवसायी चुनावी मैदानमा

काठमाडौं । यातायात व्यवसायी र यातायात मजदुरका मुद्दा बोकेर देशभर चार जना यातायात व्यवसायीले विभिन्न पार्टीबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । निजी क्षेत्रको लगानी र नियन्त्रण रहेको नेपालको सार्वजनिक यातायात क्षेत्रको नेतृत्व गर्दै नीति निर्माणको तहमा पुग्न चार जना ठूला यातायात व्यवसायीहरु चुनावी मैदानमा उत्रिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले बताए।

उनकाअनुसार नेपाली कांग्रेसबाट महासंघका केन्द्रिय अध्यक्ष विजयबहादुर स्वाँरले कैलाली–२, पश्चिम यातायात व्यवसायी विष्णु खड्काले सुर्खेत–१ र वरिष्ठ व्यवसायी भागवत मल्लले स्याङ्जा–२ बाट उम्मेदवारी दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कर्णाली यातायातका प्रमुख रमेश सापकोटा समेत सुर्खेत–२ बाट उम्मेदवारी दिएको सापकोटाले जानकारी दिए । यातायात क्षेत्रको प्रतिनिधित्व नीति निर्माणको तहमा नभएकै कारण यो क्षेत्र अस्तव्यस्त बनेको उनको भनाइ छ । उनले नीति निर्माण तहमा यातायात क्षेत्रको सहभागिता नहुँदा मुलुकको ठूलो लगानी भएको र आर्थिक समृद्धिको प्रमुख आधार मानिने यातायात क्षेत्र भद्रगोल अवस्थामा पुगेको समेत उल्लेख गरे।

उनले भने, ‘नीति बनाउने ठाउँमा यातायात क्षेत्रको प्रतिनिधित्व नभएकै कारण नेपालको अत्यन्त ठुलो लगानी भएको तथा मुलुकको आर्थिक समृद्धिको वाहकका रुपमा रहेको यातायात क्षेत्र अस्तव्यवस्त भएको। नेपाली नागरिकले सबैभन्दा धेरै प्रयोग गर्ने भनेको सार्वजनिक यातायात हो । त्यसको प्रतिनिधित्व संसदमा नहुँदा यातायात क्षेत्र भद्रगोल रहेको अवस्थामा महासंघ र यातायात व्यवसायीले निर्णय गरेर महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले उम्मेदवारी दिनु भएको छ। उनी कैलाली क्षेत्र न. २ बाट नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएको छ ।’ उनले चार जना उम्मेदवारलाई नीति निर्माणको तहमा पुर्‍याउन यातायात व्यवसायीहरुलाई एकजुट भएर लाग्न अपिल समेत गरे।

 

नेपालगञ्जमा बालेनलाई कार्यकर्ता र समर्थकको भव्य स्वागत {तस्वीरहरु}

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी अभियान पश्चिम नेपालमा पनि उस्तै उत्साहका साथ अघि बढिरहेको छ । पूर्वी नेपालमा एक चरणको चुनावी अभियान सम्पन्न गरी बालेन शनिबार नेपालगञ्ज पुगेका हुन् ।

नेपालगञ्ज विमानस्थल बाहिर बालेनको स्वागतका लागि ठूलो संख्यामा पार्टी कार्यकर्ता, समर्थक र सर्वसाधारणको भीड लागेको थियो । विमानस्थलबाट बाहिरिँदा उनी रूफटप कारमा देखिएका थिए, जहाँ उनलाई नजिकबाट हेर्न र सेल्फी खिच्न समर्थकहरूको घुइँचो लागेको थियो । सडकछेउ मात्र होइन, वरपरका घरका छतछतमा समेत स्थानीयहरू बालेनलाई हेर्न भेला भएका दृश्यले पश्चिममा पनि उनको लोकप्रियता झल्काएको थियो ।

नेपालगञ्ज विमानस्थलमा बालेनको स्वागतका लागि रास्वपाका केन्द्रीय सदस्य खगेन्द्र सुनारसहित स्थानीय नेता तथा कार्यकर्ता उपस्थित थिए । पूर्वी नेपालका विभिन्न जिल्लामा चुनावी अभियान सकेर पश्चिमतर्फ लागेका बालेन बाँके हुँदै सुदूरपश्चिमका विभिन्न जिल्लामा पुग्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । यही सन्दर्भमा उनको चुनावी अभियानलाई विशेष महत्वका साथ हेरिएको छ । सुदूरपश्चिममा बालेननिकट दुई व्यक्तिहरू उम्मेदवार बनेकाले त्यहाँको अभियानलाई प्राथमिकतामा राखिएको बताइएको छ । उनका प्रमुख स्वकीय सचिव भूपदेव शाह अछाम–२ बाट र पार्टीको कोर टिमका सदस्य केपी खनाल कैलाली–२ बाट उम्मेदवार बनेका छन् ।

यी निर्वाचन क्षेत्रलाई केन्द्रमा राख्दै बालेन केही दिन सुदूरपश्चिमका जिल्लाहरूमा चुनावी प्रचारमा सक्रिय रहने छन् । त्यसपछि उनी काठमाडौं फर्किने र काठमाडौं तथा ललितपुरका केही निर्वाचन क्षेत्रमा समेत चुनावी अभियानमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ । पूर्वदेखि पश्चिमसम्म देखिएको भीड, उत्साह र समर्थकहरूको सक्रियताले बालेनको चुनावी अभियानले नयाँ राजनीतिक तरंग सिर्जना गरिरहेको संकेत गरेको छ ।
तस्वीरहरु

उत्तेजनाको राजनीतिमा विश्वास गर्दिनँ, मधेसलाई काठमाडौंसँग जोड्छु : गगन थापा (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रतिनिधि सभा सदस्य गगन थापाले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सर्लाही–४ बाट उम्मेदवारी दिएसँगै राष्ट्रिय राजनीतिमा नयाँ बहस सुरु भएको छ । तीन पटक काठमाडौँ–४ बाट निर्वाचित भइसकेका थापाले यस पटक मधेस झर्ने निर्णयलाई केवल निर्वाचन रणनीति नभई ‘देश जोड्ने राजनीतिक यात्रा’ का रूपमा व्याख्या गरेका छन् ।

सर्लाही प्रस्थान गर्नुअघि सोमबार भिडियो सन्देशमार्फत काठमाडौं–४ का मतदातालाई धन्यवाद दिँदै थापाले आफूले सधैं परिवार जस्तै माया पाएको क्षेत्र छोड्नु सजिलो निर्णय नभएको बताए । ‘मैले जीवनका महत्वपूर्ण चरणहरू यही क्षेत्रमा बिताएँ । यहाँका मतदाताबाट पाएको विश्वास र माया मेरो लागि अमूल्य छ’, उनले भने । थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएपछि सोमबार नै सर्लाही पुगेर चुनावी गतिविधि सुरु गरेका छन् ।

सर्लाही पुगेकै दिन सार्वजनिक भिडियो सन्देशमा उनले मधेससँगको सम्बन्ध औपचारिकतामा सीमित नराख्ने स्पष्ट पारे । ‘म मधेस जाँदैछु, किनकी म देश जोड्न चाहन्छु’, भन्दै उनले पहाड, काठमाडौँ र मधेसलाई एउटै राष्ट्रिय सूत्रमा बाँध्ने आकांक्षा व्यक्त गरे । उनका अनुसार कांग्रेसका धेरै नेता तथा कार्यकर्ताले काठमाडौँ नछोड्न सुझाव दिएका थिए । सभापति भइसकेपछि निर्वाचन क्षेत्र परिवर्तन गर्नु उपयुक्त नहुने धारणा पनि आएको उनले स्वीकार गरे । तर, मधेससँगको सम्बन्ध अझ गहिरो बनाउनु राजनीतिक र राष्ट्रिय आवश्यकता भएको थापाको भनाइ छ ।

‘पहाडबाट झरेको मेरो परिवार, काठमाडौँमा हुर्किएको म, अब सिंगो देशको हुनुपर्छ’, उनले भने, ‘त्यसका लागि मधेसको माटो ढोग्नुपर्छ, त्यहीँ टेक्नुपर्छ, आशीर्वाद लिनुपर्छ र त्यहीभित्र लडिबुडी गर्नुपर्छ भन्ने लाग्यो ।’ थापाले आफू उत्तेजनाको राजनीतिमा विश्वास नगर्ने पनि दोहोर्‍याए । अधिकारको कुरा गर्दा विभाजन होइन, एकताको बाटो खोज्नु पर्ने उनको धारणा छ । मधेसका मुद्दा काठमाडौँमा सशक्त रूपमा उठाउने र काठमाडौँका सवाल मधेसमा स्पष्ट रूपमा राख्ने पुलको भूमिका निर्वाह गर्न चाहेको उनले बताए ।

‘मधेसको प्रतिनिधित्व गर्दै त्यहाँका समस्या बुझ्दा, त्यो केवल मधेसको मात्रै होइन, सिंगो नेपालको समाधानतर्फको बाटो हुन सक्छ’, थापाले भने । मधेससँग चुनावी सम्बन्ध गाँसेर त्यस क्षेत्रलाई नजिकबाट बुझ्ने र राष्ट्रिय राजनीतिको केन्द्रसँग जोड्ने उनको उद्देश्य रहेको प्रष्ट देखिन्छ । काठमाडौँ–४ का मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै थापाले आफू जहाँ रहे पनि त्यो सम्बन्ध भावनात्मक रूपमा कायम रहने बताए । सर्लाही–४ बाट उनको उम्मेदवारीलाई कांग्रेसभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमा ‘भूगोलभन्दा माथि उठेर देश सोच्ने प्रयास’ का रूपमा हेरिएको छ ।

 

६ जना लैङ्गिक तथा यौनिक अल्पसंख्यक पनि चुनावी मैदानमा {तस्वीरहरु}

काठमाडौं । नेपालको राजनीतिक इतिहासमा पहिलो पटक समावेशी समाजवादी पार्टीले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट आफ्नै पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवारी अघि सारेको छ । यस अवसरमा आज पार्टीले एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

मंसिर ९ गते पार्टी निर्वाचन आयोगमा दर्ता भएसँगै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले पहिलोपटक आफ्नै पार्टी गठन गरी निर्वाचनमा उम्मेदवार दर्ता गराएका हुन् । पार्टीबाट प्रत्यक्षतर्फ ६ जना उम्मेदवार छन् । मोरङ क्षेत्र नम्बर ४ बाट नुमा लिम्बू, काठमाडौं क्षेत्र नम्बर १ बाट सुरेन्द्र पाण्डे, ओखलढुंगा क्षेत्र नम्बर १ बाट पिंकी राई, रुपन्देही क्षेत्र नम्बर २ बाट देवेन्द्रबहादुर खत्री, काठमाडौं क्षेत्र नम्बर १० बाट पूर्णचन्द्र पौडेल तथा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ बाट विनोद लामा उम्मेदवार रहेका छन् ।

यसै पार्टीबाट लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका १५ जनालाई समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारका रूपमा सिफारिस गरिएको कार्यकारी निर्देशक सुनिलबाबु पन्तले जानकारी दिए । राज्यका हरेक निकायमा अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले निर्वाचनमा सहभागी भएको उनले बताए । अल्पसंख्यक समुदायका व्यक्तिहरू स्वतन्त्र रूपमा समाजमा हिँडडुल गर्न सक्ने वातावरण निर्माण गर्न चुनावमा सहभागी भएको नुमा लिम्बूले बताइन् ।

तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

खोटाङको राजनीतिक सरगर्मी : नयाँ अनुहारहरुको तीव्र प्रतिष्पर्धा

काठमाडौं । विगतका उम्मेदवारलाई बिदा गरेको खोटाङको चुनावी राजनीतिक सरगर्मी बढ्दै गएको छ। यो पटक राजनीतिक दलहरुले गएका निर्वाचनमा प्रतिष्पर्धा गरेका नेताहरूलाई चुनावी प्रतिष्पर्धाको मैदानबाट बाहिर राखेका छन्। जनाधारका हिसाबले बलियो मानिएको एमालेले पछिल्ला पाँचमध्ये तीन निर्वाचनमा पराजय भोगिसकेको छ, जसले यस पटकको चुनावलाई अझै चासोको विषय बनाएको छ। विगतमा पाँच पटक उम्मेदवारी दिएर दुई पटक प्रतिनिधित्व गरेका पूर्व सचेतक विशाल भट्टराई यसपटक प्रतिस्पर्धामा छैनन्। भट्टराईको सट्टा एमालेले जिल्ला अध्यक्ष देवविक्रम राईलाई उम्मेदवार बनाएको छ। स्थानीय नेताहरूका अनुसार पार्टीको जनाधार र पहिचानवादी मुद्दामा भट्टराई कमजोर देखिएकाले राईलाई अगाडि सारिएको हो।

यता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पनि अनुभवी नेता हरि रोकालाई उम्मेदवार बनाएको छ। उनी २०५६ सालमै मालेको तर्फबाट ताराको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेका थिए। २६ वर्षपछि फेरि त्यही चिह्न लिएर चुनाव लड्ने अवसर पाएका रोकाले २०६४ सालमा माओवादी कोटाबाट मनोनीत सभासद्का रूपमा राष्ट्रिय राजनीतिमा प्रवेश गरेका थिए। केही समय राजनीतिबाट टाढा बसेका रोकालाई यसपटक पुनः नेकपाले उम्मेदवार बनाएको हो।  नेपाली कांग्रेसले पनि यसपटक खोटाङमा नयाँ नेतृत्वलाई मौका दिएको छ। 

लगातार नेतृत्व परिवर्तन गरे पनि अपेक्षाकृत सफल परिणाम नआएको कांग्रेसले १४ औँ महाधिवेशनमा जिल्ला सभापति उम्मेदवार रहेका विरकाजी राईलाई टिकट दिएको छ। पार्टीभित्र सक्रिय भूमिका खेल्दै आएका राई महाधिवेशन प्रतिनिधि तथा पूर्व जिल्ला सचिव समेत रहिसकेका छन्। कांग्रेसले पुराना अनुहारलाई आराम दिएर नयाँ जोशसहित परिणाम निकाल्ने लक्ष्य राखेको देखिन्छ। खोटाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र हर्क साम्पाङको श्रम संस्कृति पार्टीको प्रभाव पनि उल्लेखनीय देखिन्छ। युवामुखी एजेण्डासहित देशभर लहर बनाइरहेको रास्वपाले रुद्र गिरीलाई उम्मेदवार बनाएको छ भने श्रम संस्कृतिबाट आरेन राई प्रतिस्पर्धामा छन्। यी दुवै दलको उदयले परम्परागत मत बाँडफाँडमा ठूलो प्रभाव पार्न सक्ने विश्लेषकहरूको बुझाइ छ। 

यसैगरी, उज्यालो पार्टीसँग सहकार्य गरेको राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेस राईले उम्मेदवारी दिएका छन्। अन्य दल र स्वतन्त्र गरी खोटाङमा कुल १५ जनाले यसपटक प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। जसपाको तर्फबाट राकेश राई, माओवादी केन्द्रबाट चन्द्रबहादुर बुढाथोकी ‘शैलेस’, जसपा नेपालबाट सुनिल चाम्लिङ, राप्रपाबाट दिपक तामाङ, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रयाग राई, नेमकिपाबाट ध्यानप्रसाद ढकाल र मितेरी पार्टीका केशरमान चाम्लिङ पनि प्रतिस्पर्धामा छन्। स्वतन्त्र उम्मेदवारका रूपमा डा. राजकुमार राई र तिलकचन्द्र राई उभिएका छन्।

खोटाङको चुनावी इतिहास हेर्दा २०७९ मा कांग्रेस–माओवादी गठबन्धनले चुनाव जितेका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादीका उम्मेदवार रामकुमार राईले एमाले उम्मेदवार भट्टराईलाई पराजित गरे। २०७४ मा भने माओवादीले एमालेका विशाल भट्टराईलाई सहयोग गरेपछि उनी विजयी बनेका थिए। २०७० को दोस्रो संविधानसभामा पाँचकर्ण राई र विशाल भट्टराई दुवै निर्वाचित भए। २०६४ मा दुवै क्षेत्रमा माओवादीको दबदबा थियो। कांग्रेसले २०५६ पछि खोटाङमा जित हात पारेको छैन, जसले यसपटकको प्रतिस्पर्धालाई झनै रोमाञ्चक बनाइदिएको छ। खोटाङमा यो पटक पुरानो राजनीतिक शक्ति, नयाँ अनुहार, वैकल्पिक राजनीतिक शक्ति र स्वतन्त्र उम्मेदवारबीच बहुआयामिक प्रतिस्पर्धा देखिन्छ। विभिन्न जातीय र भौगोलिक जनसमूहको मतप्रवाह मिलेर अन्तिम परिणाम निर्णायक बन्ने सम्भावना उच्च छ।

शक्ति बस्नेतदेखि हर्क साम्पाङ र हिक्मत कार्कीसम्मलाई आयोगको स्पष्टीकरण

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनलाई मर्यादित बनाउन निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको आरोपमा विभिन्न दलका उम्मेदवार, सार्वजनिक पदाधिकारी तथा संघ–संस्थालाई स्पष्टीकरण सोध्ने क्रम तीव्र बनाएको छ । यही क्रममा जाजरकोटबाट उम्मेदवार बनेका नेकपा नेता शक्ति बस्नेतसहित हर्क साम्पाङ, हिक्मत कार्की लगायतलाई आयोगले स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आयोगका अनुसार जाजरकोटका उम्मेदवार शक्ति बस्नेतले उम्मेदवारी दर्ताका क्रममा बाजागाजा बजाउने समूहलाई पैसा दिएको देखिने भिडिओ सार्वजनिक भएपछि आयोगमा उजुरी परेको थियो। छानबिनका क्रममा बाजा बजाइरहेका व्यक्तिहरूको टाउकोमा पाँच सय रुपैयाँका नोट सिउँरिएको दृश्य देखिएकाले उक्त गतिविधि निर्वाचन आचारसंहिता विपरीत भएको निष्कर्षसहित आयोगले बस्नेतसँग लिखित स्पष्टीकरण मागेको हो । आयोगले पत्र प्राप्त भएको मितिले तीन दिनभित्र जाजरकोट निर्वाचन कार्यालय वा आयोगमा स्वयं वा प्रतिनिधिमार्फत स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

त्यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई पनि निर्वाचनमा बालबालिकाको प्रयोग गरेको आरोपमा स्पष्टीकरण सोध्ने निर्णय भएको छ । आयोगका अनुसार निर्वाचन अभियानमा बालबालिकाको प्रयोग आचारसंहिताले निषेध गरेको विषय हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीमाथि पनि आयोगको ध्यान गएको छ । झापा–५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीको मनोनयन दर्ताका क्रममा कार्की सरकारी गाडी प्रयोग गरेर सहभागी भएको उजुरीपछि आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन प्रसारप्रसारमा सार्वजनिक पदाधिकारीले सरकारी स्रोत–साधन प्रयोग गर्न नपाउने व्यवस्था आचारसंहितामा स्पष्ट गरिएको छ ।

आयोगले राप्रपाबाट काठमाडौं–४ का उम्मेदवार सुरेन्द्र भण्डारीलाई द्वेषपूर्ण तथा यौनिक तथा अल्पसंख्यक समुदायविरुद्ध घृणित अभिव्यक्ति दिएको आरोपमा स्पष्टीकरण सोधेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दोलखाका उम्मेदवार जगदीश खरेललाई दलको झण्डाको प्रयोग र मनोनयन दर्ताका क्रममा २५ जनाभन्दा बढी व्यक्तिको सहभागिता गराएको विषयमा स्पष्टीकरण सोधिएको थियो। खरेलले भने आयोगमा जवाफ पेस गर्दै आगामी दिनमा आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

यसका अतिरिक्त निर्वाचनसँग सम्बन्धित गतिविधिमा संलग्न भएको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी प्राप्त भएमा सुरुमा तीन दिने स्पष्टीकरण सोध्ने, दोस्रो पटक २४ घण्टे समय दिने र त्यसपछि पनि उल्लंघन दोहोरिए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । आयोगसँग जरिवानादेखि उम्मेदवारी खारेजसम्मको अधिकार रहेको उनले स्पष्ट पारे । आयोगले निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै उम्मेदवार, दल र सरोकारवालालाई आचारसंहिता कडाइका साथ पालना गर्न पुनः आग्रह गरेको छ ।

 

 

राष्ट्रियसभामा कांग्रेस–एमालेको पकड: कडा भ्रष्टाचार कानुन रोक्न रणनीतिक बहुमत !

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले निर्वाचन प्रणालीमा रहेको ‘थ्रेसहोल्ड’ बढाउन निर्वाचन प्रणालीमा संशोधनको कार्ड फाले । त्यसका लागि संविधान नै संशोधन गर्नुपर्छ ।

प्रतिनिधिसभामा यी दुई दल नेतृत्वको सत्ता गठबन्धनसँग करिब दुई तिहाइ बहुमत रहेको अवस्थामा संविधान संशोधनको बाटो सहज देखिन्थ्यो । तर, माथिल्लो सदन राष्ट्रियसभामा आवश्यक बहुमत नपुग्दा उनीहरूको प्रयास सफल हुन सकेन ।

त्यतिबेला राष्ट्रियसभामा नेकपा माओवादी केन्द्र पहिलो दलका रूपमा थियो । माओवादी केन्द्रसँगै नेकपा एकीकृत समाजवादी पनि एउटै राजनीतिक कित्तामा रहेकाले कांग्रेस–एमालेले अघि सारेको निर्वाचन प्रणालीसम्बन्धी संशोधन प्रस्ताव त्यहीँ अड्कियो । परिणामस्वरूप, थ्रेसहोल्डको प्रतिशत बढाउने उनीहरूको रणनीति तत्कालका लागि तुहियो ।

तर, आइतबार देशको सातै प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनपछि शक्ति सन्तुलन फेरिएको छ । ५९ सदस्यीय राष्ट्रियसभामा अहिले कांग्रेस र एमालेका गरी ३५ जना सदस्य पुगेका छन्, जुन स्पष्ट बहुमत हो ।

यससँगै ‘माथिल्लो सदन’ भनिने राष्ट्रियसभामा कांग्रेस–एमालेको निर्णायक पकड स्थापित भएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार राष्ट्रियसभाको यो गणितीय परिवर्तन संख्यात्मक नभई रणनीतिक रूपमा महत्वपूर्ण छ । उनीहरूको विश्लेषणमा कांग्रेस–एमालेले राष्ट्रियसभामा बहुमत सुनिश्चित गर्नुको दीर्घकालीन उद्देश्य आगामी प्रतिनिधिसभा निर्वाचन पछिको सम्भावित शक्ति सन्तुलनलाई नियन्त्रणमा राख्नु हो ।

विशेषगरी, यदि आगामी निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत नयाँ राजनीतिक दलहरूको बहुमत प्रतिनिधिसभामा पुग्यो र उनीहरूले भ्रष्टाचारमा संलग्न उच्च तहका पुराना दलका नेताहरू तथा पूर्वसत्ताधारीहरूलाई लक्षित गर्दै कडा कानुनी व्यवस्था ल्याउने प्रयास गरे भने राष्ट्रियसभाले त्यसमा ‘ब्रेक’ लगाउन सक्ने अवस्था बनेको छ ।

नेपालको संसदीय प्रणालीअनुसार कुनै पनि विधेयक कानुन बन्न प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैबाट पारित हुन अनिवार्य छ । एउटै सदनबाट पारित भएर मात्रै विधेयकले कानुनको रूप लिँदैन । यही संवैधानिक व्यवस्थालाई कांग्रेस–एमालेले रणनीतिक रूपमा प्रयोग गर्न खोजेको विश्लेषकहरूको दाबी छ ।

त्यसैले प्रतिनिधिसभामा नयाँ दलहरूले चाहेअनुसार भ्रष्टाचारसम्बन्धी कडा कानुन ल्याउन खोज्दा राष्ट्रियसभामा कांग्रेस–एमाले बहुमत बाधक बन्न सक्ने सम्भावना रहेको उनीहरूको भनाइ छ । यसले भावी दिनमा संसद्भित्र शक्ति संघर्ष अझ चर्किन सक्ने संकेत पनि दिएको छ ।

राष्ट्रियसभामा देखिएको यो नयाँ शक्ति सन्तुलनले केवल वर्तमान राजनीति होइन, आगामी निर्वाचन पछिको शासन प्रणाली, कानुन निर्माण प्रक्रिया र भ्रष्टाचारविरुद्धको राजनीतिक एजेन्डामाथि समेत गहिरो प्रभाव पार्ने देखिएको छ ।

यसअघि प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतले पारित गरेको भ्रष्टाचारसम्बन्धी विधेयकका केही कडा प्रावधानमा नेता र कर्मचारीले सुटुक्क परिवर्तन गरिदिएका थिए ।

जबकि, ट्रान्सपरेन्सी इन्टरनेश्नलको पछिल्लो प्रतिवेदनअनुसार नेपाल विश्वको १०८ औँ भ्रष्ट देशको सूचीमा छ । सार्वजनिक निकायबाट हुने भ्रष्टाचारको डरलाग्दो तथ्याङ्क छ ।

यस्तो अवस्थामा नयाँ राजनीतिक दलहरू रास्वपा, श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टीलगायतले भ्रष्टाचारमा शून्य सहनशीलतासम्बन्धी एजेन्डाहरू उठाएका छन् ।

भ्रष्टाचारमा संलग्नहरूलाई कारबाहीका लागि कानुन संशोधनमा जोड दिँदै आएका छन् । तर, त्यस्ता कानुन पारित हुन नदिन कांग्रेस–एमालेले रणनीतिक रूपमा राष्ट्रियसभामा बहुमत सुरक्षित गरेका हुन् ।

मधेश झरे गगन, सिमरामा कार्यकर्ताको उत्साहपूर्ण स्वागत

काठमाडौं । नेपाली कांग्रेसका नव निर्वाचित सभापति तथा प्रधानमन्त्रीका घोषित उम्मेदवार गगन थापा मधेश केन्द्रित चुनावी अभियानका लागि सिमरा आइपुगेका छन् । सोमबार बिहान सिमरा विमानस्थलमा अवतरण गरेका थापालाई कांग्रेसका नेता–कार्यकर्ता र समर्थकहरूले फूलमाला र नाराबाजीसहित भव्य स्वागत गरेका छन् ।

सर्लाही क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थापा सिमराबाट सोही निर्वाचन क्षेत्रतर्फ अगाडि बढिसकेको कांग्रेस महाधिवेशन प्रतिनिधि रघु कार्कीले जानकारी दिए । यसअघि काठमाडौं क्षेत्र नम्बर ४ बाट निरन्तर चुनाव लड्दै आएका थापा यस पटक मधेशको सर्लाहीबाट चुनावी प्रतिष्पर्धामा उत्रिएका हुन् ।

अबका केही दिन थापाले मधेशका विभिन्न जिल्लामा पुगेर चुनावी सभा, कार्यकर्ता भेटघाट र प्रचारप्रसार कार्यक्रम गर्ने तालिका रहेको छ । सर्लाही ४ मा उनको मुख्य प्रतिष्पर्धा कांग्रेसकै पृष्ठभूमिबाट आएका रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग हुने देखिएको छ । यद्यपि उक्त क्षेत्रमा एक दर्जनभन्दा बढी उम्मेदवार भए पनि चुनावी प्रतिष्पर्धा थापा र सिंहबीच नै केन्द्रित हुने अनुमान गरिएको छ । यसैबीच, कांग्रेसले धनुषाको जनकपुरधाममा आयोजना गर्न लागेको चुनावी सभा निर्वाचन आयोगद्वारा आचारसंहिता लागू भएपछि अन्तिम समयमा स्थगित गरिएको छ ।

यसअघि रास्वपाले भने जनकपुरमै चुनावी सभा सम्पन्न गरिसकेको थियो । राजनीतिक सरगर्मी बढिरहेका बेला नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल पनि छिट्टै मधेश यात्रामा निस्कने तयारीमा रहेको जानकारी पार्टी स्रोतले जनाएको छ । मधेशमा शीर्ष नेताहरूको बाक्लो उपस्थिति बढ्दै जाँदा आगामी निर्वाचन थप चासोपूर्ण बन्ने संकेत देखिएको छ ।

नयाँ र पुरानाबीचको चुनावले संकट टर्दैन, चुनौती झन गहिरिन्छन् : घनश्याम भुसाल (भिडियो)

काठमाडौँ । नेकपा संयुक्तका कार्यबाहक अध्यक्ष घनश्याम भुसालले आगामी निर्वाचनले मात्र देशको वर्तमान संकट समाधान नहुने स्पष्ट पारेका छन् । भिडियो सन्देशमार्फत धारणा सार्वजनिक गर्दै उनले निर्वाचनपछि पनि मुलुक आन्तरिक राजनीति र भूराजनीतिक दबाबका कारण थप जटिल अवस्थामा फस्न सक्ने चेतावनी दिएका छन् ।

भुसालका अनुसार अहिलेको अवस्था यस्तो छ जहाँ नागरिकले निर्भय र शान्त जीवन बिताउनै कठिन हुँदै गएको छ । ‘चुनावपछि सबै कुरा ठिक हुन्छ भन्ने भ्रममा नपर्नुहोस्’, उनले भने, ‘चुनावपछि पनि आन्तरिक राजनीतिक खिचातानी र बाह्य शक्तिको खेलले हामीलाई थप चुनौती दिनेछ ।’ उनले भदौ २३ र २४ गते भएको ‘जेन्जी आन्दोलन’को सन्दर्भ उठाउँदै नयाँ र पुराना दुवै राजनीतिक शक्तिको कडा आलोचना गरे । पुराना दलहरू आफ्नो असफलता लुकाउन र नयाँ दलहरू पुरानालाई मात्र गाली गरेर निर्वाचनमा होमिएको भन्दै उनले दुवै प्रवृत्तिले जनताको असन्तुष्टि झन् बढाउने बताए ।

भुसालले भदौ २३ गते बानेश्वर पुगेपछि आन्दोलनको नेतृत्व अरूको हातमा गएको र त्यसकै प्रभावस्वरूप भदौ २४ गते प्रधानमन्त्री भाग्नुपरेको दाबी गरे । उनका अनुसार जनताको वास्तविक आक्रोशलाई ‘जेन्जी आन्दोलन’ को नाममा प्रयोग गरियो र त्यसलाई अन्य शक्तिले नियन्त्रणमा लिए । ‘पुराना दलहरूले राज्यलाई जुवा जस्तै खेले’, उनले भने, ‘त्यसैको परिणामस्वरूप जनताको आक्रोश विष्फोट भयो ।’ तर त्यो आक्रोश पनि अन्ततः अरूको स्वार्थअनुसार मोडिएको उनको टिप्पणी थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दै भुसालले सत्ता हातमा हुँदा पनि बिचौलिया र दलालतन्त्रसँग जुध्न नसक्नु उनीहरूको ठूलो राजनीतिक कमजोरी भएको बताए। सत्ताको लत कति घातक हुन्छ भन्ने उदाहरणका रूपमा उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्तुत गरे । भूसालले पछिल्लो समय राजनीतिको केन्द्रमा देखिएका रवि लामिछाने र बालेन्द्र शाहप्रति पनि प्रश्न उठाए ।

उनीहरूमा शासन, कुशासन, विचार, सिद्धान्त र इतिहासबारे स्पष्ट धारणा नदेखिएको भन्दै उनले आलोचना गरे । ‘देश बनाउँछु भन्छन्, तर कसरी बनाउने भन्ने स्पष्ट छैन’, भुसालको भनाइ थियो । नेपाली कांग्रेसका गगन थापा र विश्वप्रकाश शर्माबारे टिप्पणी गर्दै उनले देउवाको नेतृत्वबाट पार्टी केही हदसम्म मुक्त भए पनि बिचौलिया र दलालतन्त्रविरुद्ध स्पष्ट रूपमा उभिन नसकेको आरोप लगाए । अन्त्यमा भुसालले अहिले देशलाई नयाँ अनुहारभन्दा पनि घुस नखाने, बिचौलियासँग नझुक्ने र जनताको पक्षमा उभिने राजनीतिक शक्ति आवश्यक रहेको बताए । ‘एउटा ‘उद्धारकर्ता’ आएर सबै ठिक पारिदिन्छ भन्ने भ्रममा जनता बारम्बार परिरहेको छ’, उनले चेतावनी दिए, ‘यही भ्रम अहिले फेरि दोहोरिँदैछ ।’

निर्वाचन आचारसंहिता लागू गराउन सबै स्थानीय तह र जिससलाई मन्त्रालयको सर्कुलर

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न, गराउन ‘सर्कुलर’ गरेको छ । निर्वाचन आयोगले २०८२ साल माघ ४ गते राति १२ बजेदेखि लागू गरेको आचारसंहिता सम्बन्धित स्थानीय तह र जिल्ला समन्वय समितिले पनि आ–आफ्नो क्षेत्रमा लागू गराउन पत्राचार गरेको मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलले सबै स्थानीय तह र सबै जिल्ला समन्वय समितिलाई जारी गरेको पत्रमा उल्लेख छ ।

सरकारले २०८२ साल पुस १२ गतेको नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आचारसंहिता सार्वजनिक गरेको थियो । निर्वाचन आयोगले अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन आचारसंहिता लागू गरेको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरिएको हो । मन्त्रालयले आवश्यक जानकारी तथा कार्यार्थ भन्दै सबै स्थानीय तह र सबै जिल्ला समन्वय समितिलाई पत्राचार गरी निर्वाचन आचारसंहिता लागू गराउन ध्यानाकर्षण गराएको हो ।

भन्सार नियमावली आज मन्त्रिपरिषदमा जान्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले भन्सार ऐन कार्यान्वयनमा जाने चरणमा रहेको बताएका छन् । उनले भन्सार ऐन आए पनि नियमावली नआएकै कारण ऐनमा भएका व्यवस्था कार्यान्वयनमा जान नसक्ने अवस्थाको अन्त्य गर्न लागेको बताएका हुन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले निजी क्षेत्रलाई सहज र भन्सारलाई व्यवस्थित गराउन भन्सार ऐन जारी गरिएको बताए । उनकाअनुसार भन्सार ऐनलाई पूर्ण रुपमा सरकारले कार्यान्वयन गर्नेछ । त्यसैका लागि मन्त्रीपरिषद्बाट नियमावली स्वीकृत गराउन लागिएको हो । सकभर आज मन्त्रिपरिषदमा भन्सार नियमावली पुग्नेछ ।

अर्थमन्त्री खनालले भने, ‘हामीले निजी क्षेत्रलाईं सहज गराउनको लागि नयाँ भन्सार ऐन ल्याएको हो । त्यो भन्सार ऐनलाई पूर्णरुपमा कार्यान्वयन गर्नका लागि भन्सार नियमावली तर्जुमा गर्न लागेका छौँं । केही लामोसमय लागेकै हो । मेरो विचारमा त्यो आज साझ सम्ममा मन्त्रिपरिषदमा पुग्नेछ । मन्त्रिपरिषद्बाट प्रक्रिया पुरा गरेर नियमावली पास हुनेछ ।’

भन्सार ऐनलाई लिएर कतिपयले दण्ड धेरै चर्को भयो भन्ने गुनासाहरु आउने गरेको बताउँदै खनालले दण्ड भरसक गर्नै नपर्ने स्थिति उत्पन्न हुनुपर्ने बताए । निजी क्षेत्र र भन्सार–अर्थ मन्त्रालय सहकार्य गरेर अब दण्डै गर्ननपर्ने अवस्थामा जानुपर्ने खनालले बताए । भन्सार प्रशासनलाई सुधार्दै व्यापारलाई सहजीकरण गर्ने दक्षता अभिवृद्धिका लागि अर्थ मन्त्रालयले सहयोग गर्ने समेत उनले बताए । त्यसले दण्ड हुनुपर्ने अवस्थाको अन्त्य गर्नसक्छ । अर्थमन्त्री खनालले भन्सार सुधार रणनीति छिटो ल्याएर कार्यान्वयनमा लैजानु पर्नेमा जोड दिए । उनले आफू निजी क्षेत्रमैत्री अर्थमन्त्री भएकाले सुधारका लागि विभिन्न प्रयत्न गरिरहेको समेत बताए ।

रास्वपाको चुनावी सक्रियता तीव्र : झापामा सबिनाको घरदैलो, बालेन सुदूरपश्चिम यात्रामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशका विभिन्न क्षेत्रमा चुनावी सक्रियता बढाएको छ । झापादेखि सुदूरपश्चिमसम्म पार्टीका शीर्ष नेताहरू मतदाता केन्द्रित अभियान र भ्रमणमा जुटिरहेका छन् । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा सोमबार बिहान रास्वपाले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरेको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) की पत्नी सबिना काफ्लेको नेतृत्वमा बिहान ८ बजेदेखि ११ बजेसम्म घरदैलो अभियान सञ्चालन गरिएको पार्टीले जनाएको छ ।

दमक–९ स्थित उराव बस्तीबाट सुरु भएको कार्यक्रम पाणिनि स्कूल, देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक हुँदै पुनः उराव बस्तीमै पुगेर समापन गरिएको थियो । घरदैलोका क्रममा स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीका एजेण्डा र प्रतिबद्धता प्रस्तुत गरिएको रास्वपाले जनाएको छ । यता, वरिष्ठ नेता बालेन्द्र शाह सोमबार बर्दिया हुँदै सुदूरपश्चिमतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

रास्वपा बर्दियाका सचिव दीपक बीसीका अनुसार बालेन शाह दिउँसो करिब साढे १ बजे गुलरिया बजारको राधाकृष्ण चोकमा पुग्ने छन् । ‘उहाँ यही मार्ग प्रयोग गरी सुदूरपश्चिम जान लाग्नु भएको हो । औपचारिक भेटघाटको कार्यक्रम तय नभए पनि चोकमा केहीबेर रोकिनु हुनेछ,’ सचिव बीसीले बताए । बालेन शाह बाँसगढी, मैनापोखर, गुलरिया, मधुवन र राजापुर हुँदै कैलालीतर्फ जाने जानकारी दिइएको छ । रास्वपाले देशका विभिन्न क्षेत्रमा यसरी सक्रियता बढाउँदै जनसम्पर्क र संगठन विस्तारलाई प्राथमिकतामा राखेको देखिन्छ ।

 

 

 

 

आफ्नै विद्यालय बसको ठक्करबाट बालिकाको मृत्यु

चितवन । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट एक चार वर्षीया बालिकाको मृत्यु भएको छ । लु १ क ३८१४ नम्बरको बसले ठक्कर दिँदा नेपाल नमुना मावि केउरेनीमा नर्सरी कक्षाकी विद्यार्थी सुष्माकुमारी पासवानको मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार विद्यालय हाताभित्र बस घुमाउने क्रममा बालिकालाई ठक्कर दिएको थियो । घाइते बालिकालाई उपचारका लागि देवचुली नगर अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

घरेलु मैदानमै रोकियो नेपाली महिला टोली, विश्वकप यात्राको सपना चकनाचुर

काठमाडौं । घरेलु मैदान कीर्तिपुरमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा स्कटल्यान्डसँग लज्जास्पद हार बेहोरेसँगै नेपाली महिला क्रिकेट टोली समूह चरणबाटै बाहिरिएको छ । जित्नैपर्ने अन्तिम खेलमा कमजोर ब्याटिङ प्रदर्शन गर्दा नेपाल विश्वकप खेल्ने ऐतिहासिक अवसरबाट वञ्चित भएको हो ।

त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल मात्र १३.५ ओभरमै ६८ रनमा अलआउट भयो । दबाबपूर्ण खेलमा नेपाली ब्याटरहरू सम्हालिन सकेनन् । ओपनर बिन्दु रावल र रोमा थापाले समान १४–१४ रन बनाए । रोमा अविजित रहिन् भने रुविना क्षेत्रीले १० रन जोडिन् । अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेनन् । कप्तान इन्दु बर्मा चोटका कारण रिटायर्ड हर्ट भइन्, जसले टोलीको मनोबलमा थप असर पुर्‍यायो ।

यस हारसँगै नेपाल समूह चरणमा चार खेल खेल्दै एक जित र तीन हारसहित चौथो स्थानमा सीमित रह्यो । नेपालको समूहबाट नेदरल्याण्ड्स, स्कटल्यान्ड र थाइल्याण्ड सुपर सिक्समा प्रवेश गरेका छन् । नेपालसँगै जिम्बाब्वे पनि प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले बलिङमा भने उत्साहजनक प्रदर्शन गरेको थियो । स्कटल्यान्ड २० ओभरमा १४० रन बनाउँदै अलआउट भयो । नेपाली बलर मनिषा उपाध्याय चम्किइन् । उनले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिँदै विपक्षी ब्याटिङ लाइनअप ध्वस्त पारिन् । ग्लोबल छनोटमा पहिलो खेल खेलिरहेकी मनिषाले पहिलो ओभरमै दुई विकेट झार्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएकी थिइन् ।

रुविना क्षेत्रीले ४ ओभरमा २३ रन दिँदै ३ विकेट लिइन् भने रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान १–१ विकेट हात पारे । स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले २८ बलमा ७ चौकासहित अविजित ४५ रन बनाइन् । एल्सा लिस्टरले २२, सराह वर्सीले १८ र मेगन मेकोलले १७ रन जोडिन् । बलिङमा राम्रो प्रदर्शन गरे पनि ब्याटिङमा पूर्णरूपमा असफल हुँदा नेपाली टोलीको विश्वकप खेल्ने सपना फेरि अधूरै रह्यो । घरेलु दर्शकसामु अपेक्षा विपरीत प्रदर्शनले नेपाली महिला क्रिकेटले अझै स्थिरता र दबाब थेग्ने क्षमता विकास गर्नुपर्ने संकेत गरेको छ ।

नीतिगत सुधार गर्ने यो उपयुक्त समय हो : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत सुधार गर्न अहिले उपयुक्त समय रहेको बताएका छन् । विगतमा दलीय खिचातानीका कारण समयमै नीतिगत निर्णय नहुने गरेको बताउँदै वर्तमान सरकारलाई नीतिगत सुधार गर्न सहज हुने बताए ।

आज अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा विगतमा नीतिगत निर्णय गर्न मन्त्रीलाई विषयगत जानकारी समेत नहुने गर्दा अलमलमा समेत पर्ने भएकाले विज्ञ अर्थमन्त्री भएकाले नीतिगत सुधारमा लाग्न उनले आग्रह गरे ।

अध्यक्ष ढकालले भने, ‘पोलिसिहरु सुधारका लागि यो एकदमै राइट टाइम हो । कतिपय विषयमा मन्त्री नै गर्न खोजेको के भन्नेमै जानकारी नहुने गरेको छ । तालमेल नमिलेर कतिपय गर्नैपर्ने कामहरु नहुने गरेको थियो । अहिले अर्थमन्त्रीको नेतृत्वमा जुन कामहरु भइरहेको छ, त्यो धेरै राम्रो छ ।’ अध्यक्ष ढकालले भन्सारबाट आउने रेभिन्यूलाई सरकारले प्राथमिकतामा राख्दा उद्यमशीलताको विकासमा कुनै असर नगर्ने गरी अघि बढ्नुपर्ने बताए । उद्यमशीलताको विकास गर्ने खालको पोलिसिहरु ल्याउन जरुरी रहेको उनको भनाइ छ ।

अध्यक्ष ढकालले होटल र पर्यटनलाई उद्योगका रुपमा सरकारले मान्यता दिएपनि उद्योगहरुले पाउने सुविधा ती होटल, पर्यटनले नपाएको गुनासो समेत गरे । यसलाई तुरुन्त कार्यान्वयन गर्ने हो भने उद्यमशीलता विकास हुनेछ । अध्यक्ष ढकालले कतिपय विषयलाई अहिले धितोपत्र बोर्डले इस्यु बनाएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण समेत गराए ।

सर्लाही हिंडे कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही प्रस्थान गरेका छन् । थापा आफ्नो चुनावी क्षेत्र सर्लाही ४ जाँदैछन् । माघ ६ गते वारेसमार्फत् थापाले सर्लाही ४ मा उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारी दिएपछि पहिलो पटक सभापति थापा सर्लाही जान लागेका हुन् ।

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक अहिले सिंहदरबारमा जारी छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षमा बसिरहेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, चार वटै सुरक्षा निकायका प्रमुखहरू लगायत सहभागी छन् । सिंहदरबारस्थित परिषद्को कार्यालयमा जारी बैठकमा चुनावी सुरक्षाको विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुरक्षा तयारी र त्यसका योजनाबारे छलफल गर्न परिषदको बैठक बसिरहेको स्रोतले बतायो । निर्वाचनमा एक महिना अगावै नेपाली सेना परिचालन गर्ने पनि सरकारको तयारी छ । माघ २१ गतेदेखि नै सेनालाई परिचालन गर्ने सरकारको रणनीति छ । यसअघि मंसिर ४ गते पनि परिषदको बैठक बसेको थियो । उक्त बैठक पछि प्रारम्भिक चरणको सुरक्षा योजनाहरू बनाइएका थिए । यस बैठकपछि सोमबार नै दिउँसो साढे ३ बजे नियमित मन्त्रिपरिषदको बैठक बस्ने तयारी छ ।

गजुरेलमाथिको कारवाही फिर्ता नभए नेकपा एकीकरण जोखिममा : खनाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक असन्तुष्टि सतहमा देखिन थालेको छ । सिन्धुलीमा बागी उम्मेदवारलाई समर्थन गरेको आरोपमा कारबाहीमा परेका नेता हरिबोल गजुरेलको विषयलाई लिएर पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि प्रत्यक्ष दबाब बढाएका छन् ।

सामाजिक सञ्जाल मेटामार्फत धारणा सार्वजनिक गर्दै खनालले गजुरेलमाथि गरिएको कारबाही तत्काल फिर्ता नलिए पार्टी एकीकरण नै जोखिममा पर्ने चेतावनी दिएका छन्। उनले पार्टीमा संस्थागत निर्णय प्रक्रिया कमजोर बन्दै गएको र केही व्यक्तिको इच्छाअनुसार महत्त्वपूर्ण निर्णय लिइनु गम्भीर चिन्ताको विषय भएको उल्लेख गरेका छन् ।

खनालले वरिष्ठ नेतामाथि स्पष्टीकरणको अवसर समेत नदिई गरिएको निष्कासनलाई अस्वाभाविक र अस्वीकार्य भनेका छन् । विभिन्न घटकबाट आएका नेताहरूलाई जानकारी नदिई सञ्चारमाध्यमबाट मात्र निर्णय सार्वजनिक हुनु पार्टी संस्कारविपरीत भएको उनको भनाइ छ ।

उनले आमनिर्वाचन २०८२ नजिकिँदै गर्दा मुलुक भित्री र बाहिरी प्रतिक्रियावादी षड्यन्त्रको सामना गरिरहेको स्मरण गराउँदै यस्तो संवेदनशील समयमा कम्युनिष्ट शक्तिहरूबीच नीतिनिष्ठ र दृढ एकता अपरिहार्य रहेको बताएका छन् । तर, एकीकरण घोषणा भएको लामो समय बितिसक्दा पनि नेकपाभित्र नेतृत्वदायी कमिटी र संस्थागत निर्णय प्रणाली विकसित हुन नसक्नु दुःखद रहेको उनको टिप्पणी छ ।

खनालले नेकपालाई सच्चा कम्युनिष्ट पार्टी बनाउन अधिनायकवादी शैली त्यागेर सामूहिक नेतृत्व र निर्णय प्रणाली स्थापित गर्न आग्रह गरेका छन् । त्यसका लागि गजुरेलमाथिको कारबाही अविलम्ब स्थगित गर्न, नेतृत्व तहका नेताहरूको आकस्मिक बैठक बोलाउन र घटनाक्रमबारे गम्भीर आन्तरिक समीक्षा गर्न उनले प्रचण्डसँग जोडदार माग गरेका छन् । अन्यथा, पार्टी एकीकरणको प्रक्रिया टुंगिन नपाउँदै नेकपा बिखण्डनतर्फ जाने खतरा बढ्ने खनालको चेतावनी छ ।

नेपाल र साउदी अरबबीच श्रम सम्झौतामा हस्ताक्षर

काठमाडौं । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य साउदी अरब र नेपालबीच अन्ततः ऐतिहासिक द्विपक्षीय श्रम सम्झौता भएको छ । एक दशक बढी लामो कूटनीतिक र प्राविधिक प्रयासपछि साउदीको रियादमा आयोजित एक विशेष समारोहबीच साधारण श्रमिकको भर्ना तथा व्यवस्थापन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरबका मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका छन् । यो सम्झौतासँगै साउदी अरबमा कार्यरत लाखौं नेपाली श्रमिकको रोजगारी थप सुरक्षित, व्यवस्थित र मर्यादित बन्ने बाटो खुलेको छ ।

नेपालले वि.सं. २०७० सालदेखि नै साउदी अरबसँग श्रम सम्झौताका लागि पहल गर्दै आएको थियो । पटक–पटक मस्यौदा आदान–प्रदान भए पनि निष्कर्षमा पुग्न सकेको थिएन । पछिल्लो समय गत भदौ १३ गतेको मन्त्रिपरिषद् बैठकले सम्झौताको बाटो खुला गरेको थियो । तर, भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का कारण सरकार परिवर्तन भएपछि हस्ताक्षर प्रक्रिया केही समय धकेलिएको थियो । राजनीतिक स्थिरतासँगै नयाँ सिराबाट अघि बढेको यो प्रक्रियाले अन्ततः मूर्तरूप पाएको छ ।

सम्झौतामा के छ ?
द्विपक्षीय बैठकपछि हस्ताक्षर गरिएको यस सम्झौताले श्रमिकको हकहितलाई केन्द्रविन्दुमा राखेको छ । सम्झौताअनुसारः–

– पारदर्शी भर्ना प्रक्रियाः श्रमिक छनोट र भर्ना प्रक्रियालाई लागत–प्रभावकारी र न्यायोचित बनाइनेछ ।

–गुनासो र सुरक्षाः कार्यस्थलमा हुने समस्या, तलब सुविधा, र सामाजिक सुरक्षाका विषयमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुनुवाइ हुनेछ ।

–कानुनी उपचारः करारपत्र फेरबदल गर्ने, घर जान नदिने वा उपचारमा लापरबाही गर्ने रोजगारदाता कम्पनीलाई कानुनी दायरामा ल्याउन सहज हुनेछ ।

वैदेशिक रोजगार विभागको तथ्यांक हेर्दा साउदी अरब नेपाली श्रमिकहरूको प्रमुख रोजाइमा पर्छ । गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १ लाख ५२ हजार ५५७ जना नेपालीले साउदीका लागि श्रम स्वीकृति लिएका थिए भने त्यसअघिको वर्ष यो संख्या १ लाख ४१ हजार ५०२ रहेको थियो ।

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छ : बालेन्द्र शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले वनजंगल छेउका गाउँलाई स्थानान्तरण गर्नुपर्ने बताएका छन् । आइतबार कार्यकर्ताहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले नेपाल सरकारको नीति जंगलको छेउछाउमा बसिरहेको गाउँलाई स्थानान्तरण गर्ने हुनुपर्ने बताए ।

उनले उनीहरुको जति जग्गा छ, त्यत्ति नै जग्गा अन्य स्थानमा दिएर स्थानान्तरणको नीति लिनु उचित हुने बताए । उनले भने, ‘नेपाल सरकारको नीति त्यस्तो हुनुपर्छ । जंगलको छेउछाउमा बसिरहेको गाउँलाई स्थानान्तरण गर्ने हो । उहाँहरुको जति जग्गा छ, उहाँहरुको पाँच आना जग्गा छ, दुई रोपनी जग्गा छ कति छ, त्यो हिसावले स्थानान्तरण गरेर सरकारले अर्को ठाउँमा राखिदिनु पर्छ । मान्छेलाई जंगलसँगै राखिदिनु भएन ।’ उनले मानिसलाई जंगल नजिक राख्न नहुने बताए ।

कर्णालीबाट राष्ट्रिय सभामा शाही र रखाल विजयी

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा कांग्रेस र एमालेका एक–एक जना विजयी भएका छन् । कर्णालीबाट नेपाली कांग्रेसका प्रदेश सभापति समेत रहेका ललितजंग शाही र एमालेकी मीना सिंह रखाल विजयी भएका हुन् । चुनावमा कांग्रेस–एमाले तालमेल गरेका थिए । काँग्रेसका शाहीले प्रदेशतर्फ २५ र स्थानीयतर्फ १०० मत पाएको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए । उनका अनुसार एमालेकी रखालले प्रदेशसभातर्फ २६ र स्थानीय तह तर्फ ९३ मत पाएकी छिन् ।

नेकपाका दुवै उम्मेदवार पराजित भएका छन् । नेकपाले रुकुम पश्चिमका पुराना नेता बुद्धिप्रसाद शर्मा र डोल्पाकी अन्जु महतरालाई उम्मेदवार बताएका थियो । पराजित भएका नेकपाका उम्मेदवार शर्माले प्रदेशसभातर्फ १३ र स्थानीयतर्फ ५० मत प्राप्त गरे । महिलातर्फकी उम्मेदवार अन्जु महतराले प्रदेशतर्फ १३ र स्थानीयतर्फ ५५ मत पाइन् । खसेको कुल मतमध्ये ६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश सभातर्फ ४० प्रदेश सभा सदस्यमध्ये ३९ जनाले मतदान गरेका थिए ।

राप्रपाकी सांसद सन्तोषी शाहीले भने मतदान गरिनन् । स्थानीय तहतर्फ १५८ मतदाता रहेकोमा १५२ मत मात्रै खसेको थियो । स्थानीय तहका ६ जना जनप्रतिनिधिहरूले मत खसालेका छैनन् । आइतबार भएको मतदानमा कुल ९६.४६ मत खसेको निर्वाचन अधिकृत गुरुङले जानकारी दिए । उनका अनुसार, कुल १९८ मतदाता संख्यामध्ये १९१ मत खसेको छ ।

राष्ट्रियसभा सदस्यमा एमालेका पोर्तेल निर्वाचित

मोरङ । राष्ट्रियसभाको निर्वाचनमा कोशीबाट दलिततर्फ पनि नेकपा एमालेका सोमनाथ पोर्तेल निर्वाचित भएका छन्। पोर्तेलले नेकपाका खेम सुन्दासलाई पराजित गरेका हुन् । पोर्तेलले ७ हजार ४२३ मत प्राप्त गरे । सुन्दासले २ हजार २७ मत पाए ।

कोशी प्रदेशबाट राष्ट्रियसभाका ३ सदस्य पदका लागि निर्वाचन भएको हो । खुल्ला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा १३७ स्थानीय तहहरु मध्ये नेपाली कांग्रेसका ११३, एमालेका १०८, नेपाली कम्युनिष्ट पार्टीका ३६, जसपा नेपाल र राप्रपाका ४–४ र स्वतन्त्र २ जना रहेका छन् ।

प्रदेशसभामा नेपाली कांग्रेसका २९, एमालेका ४०, नेकपाका १७, राप्रपाका ५ र जसपाका १ सांसद मतदाता थिए । प्रतिनिधिसभामा उम्मेदवारी दिएका नेकपाका ३, एमालेका २, श्रम संस्कृति पार्टीका एक र भ्रष्टाचार मुद्दाका कारण झापा गाउँपालिकाका अध्यक्ष निलम्बनमा परेका कारण मतदाता सूचीबाट नाम हटाइएको थियो ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र एमालेले ७ वटै प्रदेशमा गठबन्धन गरेको थियो । पोर्तेल २०३५ साल फागुनमा पाँचथरमा जन्मिएका हुन् । उनी झापाको हल्दिवारीमा बसोबास गर्छन् । पोर्तेल एमालेको भ्रातृ संगठन ‘मुक्ति समाज नेपाल’ को केन्द्रीय उप–महासचिव हुन् ।

 

राष्ट्रियसभामा लुम्बिनीबाट झाँक्री, जंगली र केसी निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीमा तीन वटै सदस्य कांग्रेस–एमाले–जसपा गठबन्धनले जितेको छ । आइतबार साँझ मतगणना सकिएकोमा महिलातर्फ गठबन्धनबाट एमाले उम्मेदवार रामकुमारी झाँक्री, अपांगतातर्फ कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ र अन्यमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार झाक्रीले ६ हजार ३३० मतभार पाएकी छन् । त्यहाँ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार दुर्गा भण्डारीले १ हजार ३६२ र राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मत ल्याइन् । अपांगतातर्फ जंगली ५ हजार ३२२ मतभार प्राप्त गर्दै विजयी भए । नेकपाका सजन विकले १ हजार ६०१ मतभार ल्याए । अन्य क्लस्टरमा कांग्रेसकै चन्द्र बहादुर केसी ५ हजार ९७७ मतभार प्राप्त गर्दै निर्वाचित भए । माओवादी केन्द्रका बृहस्पति अधिकारीले १ हजार ८३२ मत ल्याएका छन् ।