`

इतिहासकै विषम अवस्थामा मुलुक : डा. शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले मुलुक इतिहासकै सबैभन्दा विषम अवस्थामा उभिएको बताएका छन् । यो अवस्थाबाट देशलाई पार लगाउन एकले अर्कालाई निषेध होइन आपसी सद्भाव, सहिष्णुता र एकतासहितको सुझबुझपूर्ण निर्णय चाहिएको बताएका छन् ।

बडादशैं २०८२ को शुभकामना व्यक्त गर्दै उनले नेपाली कांग्रेसभित्र अझै बलियो एकता आवश्यक रहेको भन्दै बलियो र एकताबद्ध कांग्रेसले नै देशलाई समस्याबाट पार लगाउने बताए ।

जनताको लामो संर्घष, त्याग, बलिदान र उत्सर्गबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको जग संविधानमाथि प्रहार भएको, जननिर्वाचित थलो प्रतिनिधिसभा विघटन गरिएको भन्दै यस्तो अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जोगाउनुपर्ने प्रमुख दायित्व नेपाली कांग्रेसमा आएको उल्लेख गरेका छन् ।

‘यो अवस्थाबाट देशलाई पार लगाउन एकले अर्कालाई निषेध होइन आपसी सद्भाव, सहिष्णुता र एकतासहितको सुझबुझपूर्ण निर्णय चाहिएको छ । त्यसका लागि नेपाली कांग्रेसभित्रको अझै बलियो एकता आवश्यक छ’, उनले भनेका छन्, ‘बलियो र एकताबद्ध कांग्रेसले नै विगतमा आइपरेका चुनौतीलाई अवसरमा बदल्दै मुलुकलाई निकास र विकास दिएको छ ।’

प्रतिकूलताबीच पनि सामाजिक एकता र सद्भाव नेपाली समाजको विशिष्ट चरित्र भएको भन्दै अहिलेको विषम र अस्थिर परिस्थितिबाट उठ्न र पुनर्निर्माणमा जुट्न पनि संयम, संवाद र एकताबाटै सम्भव भएको बताएका छन् ।

‘त्यसले नै मुलुकको हित, शान्ति, सुशासन र समुन्नतिको मार्गमा हिँड्न तथा नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रमा रूपान्तरण गर्न सकिन्छ । देशको समुन्नति र सुन्दर भविष्यका लागि लोकतान्त्रिक प्रणालीको बाटोलाई नवीन ढंगले सुनिश्चित गर्ने गुरुत्तर दायित्वप्रति हामी सबै गम्भीर बन्न आवश्यक छ’, डा. कोइरालाले शुभकामना सन्देशमा भनेका छन्, ‘त्यसले मात्र संविधानलाई जोगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको राजमार्गलाई अझ फराकिलो बनाउन र विद्यमान चुनौतीबाट देशलाई पार लगाउन सकिने छ । नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन सबैलाई आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न म वडा दसैँको अवसरमा आह्वान गर्दछु ।’

डा. कोइरालाले भदौ २३ र २४ गते काठमाडौंसहित देशभर भएको प्रदर्शन र ध्वशंसँगै यस वर्षको बडादशैं फरक अवस्था र विषम परिवेशकाबीच मनाउन लागेको उल्लेख गर्दै आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक महत्व बोकेका धरोहरहरू नष्ट भएको बताए ।

नेपालमा प्रजातन्त्र र स्वतन्त्रताको बिगुल फुक्ने कृष्णप्रसाद कोइरालाको निवास (विराटनगरको कोइराला निवास), ३० वर्षे पञ्चायती कालरात्रिबाट मुक्ति दिलाउन २०४६ सालमा आन्दोलनको शंखघोस गरेको गणेशमान सिंहको चाक्सीबारीस्थित निवास, सुशासन र सादगी जीवनका पर्याय सन्त नेता कृष्णप्रसाद भट्टराईको नाममा बाँडेगाउँस्थित आश्रम आगजनीबाट खण्डहरमा परिणत भएकामा दुःख व्यक्त गरेका छन् ।

डा. कोइरालाले ती खण्डहर भनवहरू केबल कसैका घर नभएर सिङ्गो नेपालको प्रजातान्त्रिक आन्दोलनका इतिहास र हाम्रो साझा सम्पत्ति भएको उल्लेख गरेका छन् ।

ट्रमा सेन्टरमा उपचाररत जेनजी घाइते राईको मृत्यु

काठमाडौं । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ ।पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गए राति १२ बजे मृत्यु भएको पारिवारका सदस्यहरूले बताएका छन् । अहिले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको छ ।

उनी राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत थिए । दुई दिनसम्म घाइते अवस्थामा आईसीयूमै गुमनाम भएका उनी काठमाडौंका बालाजुमा मजदुरी गर्दै आएका थिए । तर, उनको सम्पर्क नियमित रूपमा परिवारसँग थिएन । उनको टाउको पछाडिको भागमा गोली लागेको थियो । उनी उपचारकै क्रममा कोमामा थिए ।

अमेरिकाको चर्चमा गोलाबारी र आगलागी, कम्तीमा चारको मृत्यु

मिसिगन । संयुक्त राज्य अमेरिकाको मिसिगन राज्यमा रहेको लेटर डे सेन्ट्सको एक चर्चमा भएको गोलीकाण्ड र आगलागीमा कम्तीमा चार जनाको  मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

ग्रान्ड ब्ल्याङ्क बस्तीका प्रहरी प्रमुख विलियम रेनीका अनुसार, सन्दिग्ध आक्रमणकारी ४० वर्षीय थोमस जेकब स्यानफोर्ड पनि मारिएका छन् । पहिलो आपत्कालीन आह्वान आएको आठ मिनेटभित्र घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूको गोलीबाट उनको मृत्यु भएको हो ।

प्रहरी प्रमुख रेनीले आइतबार साँझको पत्रकार सम्मेलनमा भने, ‘गिर्जाघरभित्र थप दुईवटा शव फेला परेका छन् ।’ आगलागीका कारण गिर्जाघर पूर्ण क्षति भएकाले अझै केही मानिसहरू बेपत्ता हुनसक्ने बताए ।

त्यही पत्रकार सम्मेलनमा डेट्रोइटका विशेष प्रतिनिधि जेम्स डेइरले प्रारम्भिक अनुसन्धानबाट सन्दिग्ध व्यक्तिले पेट्रोलजस्तो कुनै प्रज्वलनशील पदार्थ प्रयोग गरी गिर्जाघरमा आगो लगाएको सङ्केत मिलेको बताए ।

रेनीले यसअघि नै घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको र बाँकी सात जनाको अवस्था स्थिर रहेको बताएका थिए । अमेरिकी समाचार माध्यमहरूका अनुसार घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंको काष्ठमण्डप नजिकै भीषण आगलागी

काठमाडौं । काठमाडौं काष्ठमण्डप नजिकै घरमा भीषण आगलागी भएको छ । आज बिहानीपख आगलागी सुरु भएको हो । कपडा गोदामबाट सुरु भएको आगो अहिले छेउको घर र मन्दिरमा पनि सल्किएको छ । बिहान साढे ३ बजेतिरबाट आगलागी सुरु भएको स्थानीयहरूको भनाई छ ।

आगो निभाउने प्रयास भइरहे पनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौं महानगर र ललितपुर महानगरका दमकल प्रयोग गरिरएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी लगायतले आगो निभाइरहेका छन् ।

 

चार डीआईजी एआईजी बढुवाका लागि सिफारिस

काठमाडौं। नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको आइतबार बसेको बैठकले डीआईजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको हो ।

राठौरलाई नेपाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्सालमा सिफारिस गरिएको छ। चतुरवेदीलाई मधेश प्रहरी कार्यालय, जनकपुरधाम, श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल तथा विकलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीमा दरबन्दी सिफारिस गरिएको छ ।

हेर्नुस् सूची

एमालेकाे ठहर : सरकार राजनीतिक प्रतिशोधको बाटोमा गयो

काठमाडौं । नेकपा (एमाले) ले वर्तमान सरकार राजनीतिक प्रतिशोधको बाटोमा अघि बढेको टिप्पणी गरेको छ । आज (आइतबार) भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले गरेका निर्णयबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन् ।

राजनीतिक दलहरूसँग सरकारले कुनै समन्वय नगरेको र निषेध गर्न खोजेको एमालेको ठहर छ । यस्तै, पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत पाँच जनामाथि काठमाठौं उपत्यका छोड्न र विदेश जान नपाउने गरी गरिएको निर्णयप्रति बैठकले आपत्ति जनाएको छ । एमालेले यही महिनाको २७, २८ र २९ गते केन्द्रीय समिति र त्यसअघि पुनः सचिवालय बैठक बस्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिए ।

 

कुलमान मन्त्री बनेर आएपछि ६ सहसचिवसहित ४१ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं । कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्हालेपछि मातहत निकायमा व्यापक कर्मचारी सरुवा गरेका छन् ।घिसिङले मन्त्रालय अन्तर्गत ६ सहसचिवसहित ४१ कर्मचारीको सरुवा गरेका छन् ।

मन्त्रालयले मातहत निकायमा कार्यरत नेपाल इन्जिनियरिङ सेवाका राजपत्राङ्कित प्रथम श्रेणी अर्थात् सहसचिवस्तरका ६ जना कर्मचारीको सरुवा गरेका छन् । जसमा जलस्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक दिनेश रजौरियाको नौमुरे बहुउद्देश्यीय आयोजनामा आयोजना निर्देशकको जिम्मेवारी दिइएको छ । जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गत नै कार्यरत कुशाङ्ग शेर्पाको सोही विभागमा योजना, कार्यक्रम तथा समन्वय महाशाखा हेर्नेगरी उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ ।

जल तथा ऊर्जा आयोगको सचिवालयमा ऊर्जा महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सन्दीपकुमार देवलाई मन्त्रालयमै ऊर्जा महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । विद्युत् विकास विभागका महानिर्देशक जीवछ मण्डललाई आयोगको ऊऊर्जा महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तै विद्युत् विकास विभागका उपमहानिर्देशक मनदेवी श्रेष्ठलाई विभागकै महानिर्देशकको जिम्मेवारी दिइएको छ भने जल तथा ऊर्जा आयोगको सचिवालयमा ऊर्जा महाशाखा प्रमुख रहेका सागरराज गौतमलाई मन्त्रालयमा विकास सहायता तथा प्रादेशिक समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तै मन्त्रालयले थप ३५ उपसचिव र शाखा अधिकृतको पनि सरुवा गरेको छ । मन्त्रालय र मन्त्रालय मातहतका निकायमा कार्यरत नेपाल इन्जिनियरिङ सेवाका राजपत्राङ्कित द्वितीय अर्थात् उपसचिव र राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत सरहका कर्मचारीको सरुवा गरेको हो ।

हेर्नुस् सरुवा सूची

जेनजी वार्ता टोलीको माग : अन्तरिम संविधान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्नका लागि गठित जेनजी वार्ता समितिले अन्तरिम संविधान निर्माण गरेर कार्यकारी प्रमुखको निर्वाचन गर्नुपर्ने बताएको छ । आज आयोजित पत्रकार सम्मेलनमा जेनजी वार्ता टोलीका सदस्यहरुले सो माग अघि सारेका हुन् ।

वार्ता टोलीका एक सदस्य प्रवेश दाहालले राष्ट्रपतिसँग छलफल गरेर आन्दोलनको सेफ ल्यान्डिङ गर्न चाहेको बताएका छन् । यो संविधान आफूहरूले नमान्ने उनले बताएका छन् ।

उनले भने, ‘यो संविधान यो सरकारले खारेज गर्न सक्छ । अन्तरिम संविधान लेख्न सक्ने अधिकार यो सरकारलाई छ । आन्दोलनले राजा त फालेको थियो । प्रत्यक्ष कार्यकारीको निर्वाचन गर्न कुनै रोकटोक हुँदैन । यो संविधानलाई मानेर सरकार बनेको होइन । यो संवैधानिक सरकार नै होइन । असंवैधानिक तरिकाले सरकार बनेको हो । अन्तरिम संविधान बनाएर भए पनि प्रत्यक्ष कार्यकारीको चुनाव गर्नुपर्छ ।’

टिकटक स्टार आँचलको आत्मदाह प्रकरण : प्रेमी भनिएका एक युवक पक्राउ

काठमाडौं । २२ वर्षीया टिकटक क्रिएटर आँचल नाथको आत्मदाह प्रकरणमा प्रहरीको अनुसन्धानले नयाँ मोड लिएको छ । आत्मदाहमा उक्साएको आरोपमा प्रहरीले उनका प्रेमी भनिएका एक युवकलाई नियन्त्रणमा लिएको छ । मृतकको परिवारले सो युवकविरुद्ध आत्महत्या दुरुत्साहन अन्तर्गत जाहेरी दिएका हुन् ।

प्रहरीका अनुसार, बिहीबार काठमाडौंको जडिबुटीस्थित एक ग्यारेजमा आँचलको शरीरमा एक्कासी आगो लागेको थियो । गम्भीर रुपमा जलेकी उनलाई उपचारका लागि तुरुन्तै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको थियो, तर शुक्रबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, घटनास्थलको सीसीटीभी फुटेजमा उनले आत्मदाह गरेको प्रमाण भेटिएको छ । तर, उनलाई ग्यारेजसम्म कसले पुर्‍यायो र के उद्देश्य थियो भन्नेबारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

युवतीमाथि मानसिक दबाबको संकेत
आँचलका टिकटक पोस्टहरू पछिल्ला केही समयदेखि निराशाजनक देखिएका थिए । चार दिनअघि उनले पोस्ट गरेकी थिइन् :-
‘मेरो त हरेक चिजदेखि मन मरिसक्यो । थाहा छैन अब कुन दिन यो शरीर पनि मर्छ ।’

अन्य शंकास्पद व्यक्तिहरू पनि अनुसन्धानको घेरामा
पारिवारिक स्रोतका अनुसार आँचल सिनामंगल (पेप्सीकोला) क्षेत्रको डेरामा बस्दै आएकी थिइन् । छिमेकी एक महिलासँग केही दिनदेखि भनाभन चलिरहेको थियो । संयोगवश सोही महिलाले सञ्चालन गरेको ग्यारेजमै आगलागी भएको हुँदा परिवारले उनैमाथि पनि शंका गरेका छन्। यसै आधारमा प्रहरीले केही महिलालाई पनि सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।

युरोप जाने योजना अधुरै
कञ्चनपुर, कृष्णपुर नगरपालिका–२ की स्थायी बासिन्दा आँचल युरोप अध्ययनका लागि जान लागेकी थिइन् । भिसा समेत लागिसकेको अवस्थामा यस्ता घटना घट्नु परिवारका लागि ठूलो मानसिक आघात भएको छ । प्रहरीका अनुसार आँचल अविवाहित थिइन्, यद्यपि सामाजिक सञ्जालमा उनको वैवाहिक स्थिति र सम्बन्धबारे विभिन्न चर्चाहरू फैलिएका थिए ।

भाइरल स्टारको अन्तिम दिनहरू
टिकटकमा उनका एकलाख २० हजार बढी फलोअर्स छन् । केही समयअघि एक महोत्सवमा आँचल दर्शकदीर्घामा गहिरो भावुकतामा रोइरहेको भिडियो पनि भाइरल भएको थियो ।
निष्कर्ष : युवा पुस्तामाझ चर्चित रहेकी एक सामाजिक सञ्जाल क्रिएटरको आत्मदाहसँग जोडिएको घटना केवल व्यक्तिगत पीडा मात्र होइन, समाजमा बढ्दो मानसिक दबाब, सम्बन्धको जटिलता र डिजिटल लोकप्रियतामा लुकेको एकान्तता पनि देखाउने प्रतिबिम्ब हो । यस विषयमा सत्य के हो भन्ने पूर्ण निष्कर्ष अझै आउन बाँकी छ, तर एक परिवारले चीरस्थायी क्षति भोग्नुपरेको यथार्थ भने प्रष्ट छ ।

कुलमान घिसिङको भारत भ्रमण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा घाइते भएकाहरूको पहिचानका लागि परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरण गरिने र जेनजी क्लिनिकमार्फत सहज उपचार उपलब्ध गराउने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलका अनुसार घाइतेहरूलाई राहत उपलब्ध गराउन प्राविधिक समिति पनि बनाइएको छ । प्राविधिक समितिले घाइतेहरूको वर्गीकरण गर्ने र सोही आधारमा राहत वितरण पनि गरिने मन्त्री खरेलले जानकारी दिएका छन् । त्यस्तै जेनजी क्लिनिकमार्फत सहज र निशुल्क उपचारका लागि फोकल पर्सन तोक्ने निर्णय पनि भएको छ ।

त्यस्तै सरकारले ऊर्जामन्त्री कुलमान घिसिङको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमल्सिना नियुक्त भएका छन् । सरकारले मुग्लिङनदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानन्तरको सडकको रेखाङ्कन स्वीकृत गरेको छ ।

प्रवक्ता खरेलका अनुसार मुग्लिनदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानन्तरको मुग्लिङ बजारको पारी पट्टी त्रिशूली किनार गोरखातर्फदेखि मर्स्याङ्दी नदीको बायाँ किनार हुँदै मस्र्याङ्दी विद्युत गृहको पारीपट्टी गोरखातर्फसम्म थप सडकको रेखाङ्कन स्वीकृत गरेको हो । सडकको केन्द्र रेखाबाट दायाँ बायाँ १५—१५ मिटर गरी ३० मिटरको सडकको मापदण्ड स्वीकृत गर्ने निर्णय भएको छ ।

 

प्रधानमन्त्रीको कार्कीको मुख्य सल्लाहकारमा खनाल, जनसम्पर्कमा तिम्सिना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् । त्यस्तै, जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिना नियुक्त भएका छन् ।

आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले खनाल र तिमल्सिनालाई प्रधानमन्त्रीको दुई सल्लाहकारमा नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिएका छन् । खनाल द हिमालयन टाइम्सका पूर्व सम्पादक हुन् । उनले अमेरिकी सहायताबाट सञ्चालित द एसिया फाउन्डेसनमा पनि काम गरेका छन् ।

नेपालमा शान्ति प्रक्रिया चलिरहँदा एसिया फाउन्डेसनले नै यहाँका सबै राजनीतिक दलका नेता तथा नागरिक समाजका अगुवाहरू सामेल गरी ‘नेपाल ट्रान्जिसन टु पिस’ (एनटीटीपी) इनिसिएटिभ नामक परियोजना सञ्चालन गरेको थियो । खनाल त्यसमा कार्यकारी निर्देशक थिए। केही समय उकालो अनलाइनमा आबद्ध रहेका उनी पछिल्लो समय भने एउटा अनुसन्धान संस्थामा थिए ।

सेन्टर फर सोसियल इनोभेसन एन्ड फरेन पोलिसी नामक उक्त संस्थाले बीआरआईलगायतका परियोजना र नेपालमा चिनिया प्रभावका विषयमा धेरै प्रतिवेदन तयार गरेको देखिन्छ। तिमिल्सिना उज्ज्वल थापा फाउन्डेसनका उपाध्यक्ष हुन् । विवेकशील नेपाली पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा यो फाउन्डेसन स्थापना गरिएको हो ।

राष्ट्रपतिसँग वार्ता गर्न जेनजीले बनायो समिति, को–को छन् सदस्य ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न भन्दै जेनजीहरुले वार्ता टोली बनाएका छन् । समितिमा पुरुषोत्तम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लु गुप्ता, किशोरी कार्की, टीकाराम लिम्बू, योग्यता भण्डारी, कासिबमोहम्मद मिया, जेम्स कार्की, अर्पित कुँवर, दीपकजंग अधिकारी, अभिषेक श्रेष्ठ छन् ।

वार्ता टोलीमा रक्षा बमको पनि नाम उल्लेख छ तर उनको हस्ताक्षर छैन । अरु तीन जना भने घाइते र शहीद परिवारका सदस्य रहने जनाइएको छ । वार्ताका लागि ६ बुँदो एजेन्डाहरु राखिएको छ ।

दोस्रो बुँदामा भनिएको छ, ‘आन्दोलनकर्तालाई अभियोजन नगर्ने गरी उचित सुरक्षा प्रदान गर्ने, राज्यका निकाय र राजनीतिक दलहरुद्वारा गरिएका, गराइएका तथा हुनसक्ने आक्रमणहरूबाट यथाशक्य सुरक्षा प्रदान गर्ने र राज्यका तर्फबाट भएका गैरन्यायिक हत्या लगायत अन्य मानव अधिकार उल्लङ्घनका घटनाको अनुसन्धान गर्नका लागि एउटा स्वतन्त्र, निष्पक्ष र सक्षम अधिकार सम्पन्न आयोगको गठन गर्ने ।’

अनुसन्धानको आयोग बनाइँदा जेनजी प्रतिनिधि सम्मिलित कार्यदल गठन गर्ने, अन्तरिम सरकारलाई वैधानिकता प्रदान गर्ने र संसद विघटनको निर्णयलाई स्वीकार गर्ने बताइएको छ । हालसम्म सार्वजनिक पदधारण गर्ने व्यक्तिहरुको सम्पत्तिको छानबिनदेखि न्यायापालिकालाई स्वतन्त्र र सक्षम बनाउनेसम्मका माग छन् ।

छैटौं बुँदामा भनिएको छ, ‘आगामी र तत्पश्चात हुने आम निर्वाचनबाट चयन हुने कार्यकारी प्रमुख (प्रधानमन्त्री र मुख्यमन्त्री) को निर्वाचन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमार्फत गरिने व्यवस्था गर्ने ।’ प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्तावमा रक्षा बमको सहमति छैन । उनले अन्तरवार्ताहरुमा यो व्यवस्था नेपालका लागि उचित नहुने बताइरहेकी छन् । उनीबाहेक अन्य केही सदस्यहरु पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा नरहेको दावी गरिएको छ ।

हर्क साम्पाङले खोले श्रम संस्कृति पार्टी, आफै अध्यक्ष

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनले असोज ७ गते नै आयोगमा दल दर्ताका लागि निवेदन दिएका जनाइएको छ ।

‘उहाँले दल दर्ताका लागि निवेदन दिनु भएको छ । पार्टीको नाम श्रम संस्कृति पार्टी र अध्यक्ष उहाँ आफैं रहने गरी निवेदन प्राप्त भएको छ’ स्रोतले सुनायो । दल दर्ताका लागि निवेदन प्राप्त भइसकेको र अध्ययनकै क्रममा रहेको जनाइएको छ ।

‘दल दर्ताका लागि निवेदन आए पनि अध्ययनकै क्रममा छ, दश बिदा लगत्तै उक्त निवेदनबारे अध्ययन गरेर दर्ता प्रक्रिया अघि बढाइनेछ’ स्रोतले भन्यो । धरानको खानेपानी मुद्दामा संघर्ष गरेका साम्पाङ सोही मुद्दाका कारण स्वतन्त्र रुपमा मेयर पद जितेका थिए । मेयर भएपछि उनले धरानमा श्रमदान गरी पानीको व्यवस्थापन गरेका छन् ।

आयोगले प्रमाण नपुगेको, विवरण सच्याउनुपर्ने भए सुधार तथा परिमार्जनका लागि सम्बन्धित दल दर्ताका लागि निवेदन दिनेलाई पत्राचार गर्नेछ। प्रक्रिया पूरा गरेर निवेदन पेश भएको भए दल दर्ता गर्नेछ । निवेदन दिएको ४५ दिनभित्र आयोगले दल दर्ता गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।

उनी जेनजी आन्दोलनपछि देशकै नेतृत्व लिन भन्दै काठमाडौं आएका थिए । तर, उनको नाममा सहमति जुटेन । साम्पाङले मन्त्री बन्न भारतीय दूतावास जानुपर्ने रहेछ भन्दै आफू त्यसको लागि तयार नरहेको सामाजिक सञ्जालमा उल्लेख गरेका थिए ।

बिडारीको बिरह : यो देशमा अब मसँग कुनै घर छैन

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्व संविधानसभा सदस्य रामनारायण विडारीले जेन–जी आन्दोलनको क्रममा भएको आगजनीबाट आफू घरविहीन बनेको गुनासो गरेका छन् । आन्दोलनको नाममा भदौ २४ गते अराजक भीडले आफ्नो घरमा आगो लगाइ दिएको भन्दै उनले पीडा व्यक्त गरेका हुन् ।

‘जीन्दगीभरको आम्दानीबाट बनाएको एउटा मात्र घर थियो, त्यो पनि खरानीमा परिणत भयो’, विडारीले भने । उनका अनुसार उग्र भीडले लुटपाट गरेपछि उनलाई नाडी समातेर जबर्जस्ती घर बाहिर निकालिएको थियो । ‘चप्पल समेत लगाउन दिएनन्’, उनले दुःख सुनाए ।

विडारीका अनुसार उक्त आगजनीबाट उनको पारिवारिक अंशमा परेको घर र वर्षौंको मेहनतले संकलित ‘पुस्तकालय’ समेत पूर्ण रूपमा नष्ट भएको छ । ‘बाउले दिएको थोरै अंश, जागिरको कमाइ र कानुन व्यवसायबाट बचेको पैसाले बनाएको घर थियो, त्यो पनि छैन अब’, उनले भावुक हुँदै भने ।

विडारीले जेनजी आन्दोलनका मूल मागहरूप्रति सहानुभूति रहे पनि आफूले कुनै भ्रष्टाचार नगरेको हुँदा आफ्नो घर जलाइनु अन्याय भएको बताए । ‘यो देश सतिले सरापेको होला जस्तो लाग्छ । न कुनै अपराध, न कुनै आरोप, तर जीन्दगीभरको कमाइ आगोमा !’ उनले आक्रोश पोखे। आगो लगाउनेहरूलाई जेनजीको नाममा नछोप्न आग्रह गर्दै उनले दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

सार्वजनिक बिदामा पनि निगमका यी १३ वटा डिपो खुला रहने

काठमाडौं । दशैंको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहने भएका छन् । सार्वजनिक बिदाका दिनमा पेट्रोलियम पदार्थको सहज बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताका आधारमा १३ वटा डिपो तथा कार्यालय खुला रहने निगमले जनाएको छ ।

निगमका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा धनुषा, चारआली, नेपालगञ्ज, वीरगन्ज, दाङ र दीपायलका इन्धन डिपो खुला रहने छन् । दशैंका समयमा सवारी साधनको प्रयोग बढेसँगै इन्धनको खपत पनि बढी हुने गरेको छ ।

जेन–जी आन्दोलनमा मृत्यु भएका महर्जनको परिवारलाई आर्थिक सहयोग

काठमाडौं । भदौं २३ र २४ भएको जेन–जी आन्दोलनमा मृत्यु भएका ललितपुरका बिनोद महर्जनका परिवारले १५ लाख रुपैंयाँ सहयोग प्राप्त गरेको छ ।

नेपाल सरकारले जेन–जी आन्दोलनमा मृत्यु भएका परिवारलाई राहतस्वरुप उपलब्ध गराएको १५ लाख रुपैयाँ ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले ललितपुर–७ स्थित मृतककै घरमै पुगेर हस्तान्तरण गरेका थिए ।

१० लाख आर्थिक सहयोग र ५ लाख क्रिया तथा अन्य खर्चबापट सरकारले उपलब्ध गराएको रकमको चेक आइतबार प्रमुख जिल्ला अधिकारी घिमिरेले हस्तान्तरण गरेका हुन् । मृतकका आमा लतामाया महर्जनले चेक बुझेकी थिइन् । जेन–जी आन्दोलनमा ७४ जनाको मृत्यु भएको थियो भने एक हजार बढी घाइते भएका थिए ।

शीर्ष नेताको बिदाइ र जेन एक्सको मेन्टरिङ नै अबको बाटो : विन्दा पाण्डे

काठमाडौं । नेकपा (एमाले) की पोलिटब्युरो सदस्य विन्दा पाण्डेले प्रमुख तीन दलका शीर्ष नेताले राजनीतिबाट बिदा लिनुपर्ने धारणा राखेकी छन् । जेन–जी आन्दोलनको आक्रोश प्रमुख दलप्रति रहेको भन्दै त्यसको समीक्षा गरी नेतृत्वले मार्ग प्रशस्त गर्नुपर्ने बताएकी हुन् ।

उनले पहिलो पुस्ताका नेतासँगै दोस्रो तहका नेताहरूको भूमिकामाथि पनि प्रश्न उठाएकी छन् । उनले पहिलो पुस्ताको बिदाइ, जेन–वाई र जेडलाई अग्रस्थानमा राखेर जेन–एक्सको मेन्टरिङको भूमिका स्थापित हुनुपर्ने तर्क गरेकी छन् ।

‘जेन–जी आन्दोलनले उठान गरेका विषय र उनीहरूको भावना बुझ्न हरेकले आफ्नो परिवार÷आफन्त र छिमेकका त्यही समूहका युवाहरूको कुरा धैर्यपूर्वक सुने मात्र पनि पुग्छ । यस सन्दर्भमा राजनीतिक नेतृत्व सबैभन्दा बढी विवेकी बन्नु आजको आवश्यकता हो,’ उनले भनेकी छन्, ‘ठूला दलका शीर्ष नेताप्रति उनीहरूको आक्रोशको समीक्षा गरी बाटो प्रशस्त पहिलो कदम हुनेछ । बाँकी नेतृत्वले पनि आफूआफू संलग्न पद र संस्थाको गहन समीक्षा गरेर नीति, विधि, नेतृत्वको रूपान्तरणसहीत आम नागरिकबीच सहज स्वीकार्य बन्ने काममा ढिलाइ गर्नु हुँदैन ।’

त्यस्तै उनले सुशासनका बाधकहरूको पहिचान गर्दै आवश्यक कारवाहीको निरन्तर प्रक्रिया नै आम रूपमा लिनु पर्ने बाटो भएको औंल्याएकी छन् । ‘यसका लागि, पहिलो पुस्ताको बिदाइ अनि जेन–वाइ र जेडलाई अग्रस्थानमा राखेर जेन–एक्सको मेन्टरिङको भूमिका स्थापित गर्दै अगाडि बढ्ने विषय अबको कामको केन्द्रविन्दु बन्नु जरुरी छ । युवाहरूको बुझाइ परिपक्व छ भन्ने कुरा देखाइसके । जिम्मेवारीमा सक्षम र कुशल बनाउने काम हाम्रो पुस्ताको पनि हो,’ उनले भनेकी छन् ।

‘दशैं–तिहार, चेलीलाई उपहार’ अभियानमार्फत निःशुल्क यातायात सेवा

खोटाङ । खोटाङमा रहेर विभिन्न क्षेत्रमा क्रियाशील युवाको एक समूहले ‘दशैं–तिहार, चेलीलाई उपहार अभियान–२०८२’ सञ्चालन गर्ने भएको छ । कमजोर आर्थिक अवस्था भएका, यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दशैं–तिहार मनाउन माइतीघर पुर्‍याउने तथा माइतीघरबाट पुनः फर्काउने उद्देश्यले युवा समूहले निःशुल्क यातायात सेवा उपलब्ध गराउन लागेको हो ।

यही असोज १६ गतेदेखि १९ गतेसम्म र तिहारको अवसरमा आगामी कात्तिक ५ गतेदेखि ७ गते अभियान सञ्चालन गरिने संयोजक सञ्जयकुमार राईले जानकारी दिए । ‘यातायात तथा खर्च अभावका कारण माइतीघर जान नपाएर समस्यामा परेका चेलीलाई गन्तव्यसम्म पुर्‍याउने योजनासहित गत वर्ष दुई चरणमा अभियान सञ्चालन गरेका थियौँ । तत्कालीन समयमा ४१५ जना चेलीले निःशुल्क सेवा लिएका थिए’, उनले भने ।

निःशुल्क यातायात सेवा उपलब्ध गराउन सञ्चालन गरिएको अभियानको दोस्रो संस्करणलाई यस वर्ष पनि निरन्तरता दिइने राईले बताए । ‘स्वार्थ बिना मानवीय सेवाभावले अभियान सञ्चालन गरेका हौं । माइतीघर पुर्‍याउन तथा माइतीघरबाट कर्मघर फर्काउन निःशुल्क यातायात सेवा उपलब्ध गराउँछौँ’, उनले भने, ‘यस वर्षको अभियानका लागि अहिलेसम्म विभिन्न क्षेत्रमा कार्यरत २५ जना युवाले स्वतःस्फूर्त सहभागी हुनेगरी

नाम दर्ता गराइसक्नु भएको छ । स्वयमसेवा गर्न इच्छुक युवा थपिनेक्रम जारी छ । चार पाङ्ग्रे एउटा गाडी समेत व्यवस्था गरिएको छ ।’
मध्यपहाडी लोकमार्ग, सगरमाथा राष्ट्रिय राजमार्गका विभिन्न सडकखण्ड तथा जिल्लाका सबै ग्रामीण सडकको ३५ किलोमिटरसम्म सेवा उपलब्ध गराइने युवा समूहले दिक्तेलस्थित रुपाकोट होटलमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

सरकारी सेवा सुविधा लिइरहेकालाई भने आफूहरूले सञ्चालन गरेको अभियानअन्तर्गतका कुनै पनि सेवा उपलब्ध नहुने पत्रकार सम्मेलनमा जनाइएको छ । चेलीका लागि भनेर सञ्चालन गरिने अभियानमा पुरुषलाई पनि आवश्यकता र सहमतिका आधारमा सेवा उपलब्ध गराउने तयारी गरिएको युवा समूहले जनाएको छ । अभियानका क्रममा महिला, बालबालिका, वृद्धावस्था, अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिइने संयोजक राईले जानकारी दिए ।

अभियानअन्तर्गतका सेवा लिन चाहने यात्रुले बढीमा पाँच किलो तौलसम्मका मात्रै झोला तथा कोसेली बोक्न पाउने शर्त समेत राखिएको पत्रकार सम्मेलनमा जनाइएको छ । जिल्लाका अधिकांश सडक कच्ची अवस्थाका रहेकाले दुर्घटनाको जोखिमलाई मध्यनजर गरेर तौल निर्धारण गरिएको संयोजक राईले बताए ।

दशैं र तिहार गरी दुई चरणमा सञ्चालन गरिने अभियानमा स्वतःस्फूर्त स्वम्सेवकको भूमिका निर्वाह गर्न चाहने जो कोहीले सहयोग गर्न सक्ने जनाइएको छ । स्वमसेवक बन्न चाहने युवाको अनिवार्य सवारी बिलबुक र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) हुनुपर्ने पत्रकार सम्मेलनमा संयोजक राईले जानकारी दिए ।

उनका अनुसार अभियानका लागि जिल्लास्थित दशवटै स्थानीय तहमा संयोजक तोकिएको छ । अभियानको सहसंयोजकमा मौसम कार्की, आर्थिक व्यवस्थापन समितिको संयोजकमा महिला उद्यमी बिमला राई, सचिवालय व्यवस्थापकमा अनिशा रम्तेल, अञ्जना आचार्य, रस्मिता आचार्य र खियामा राई रहेका छन् ।

अभियानका लागि होण्डा मोटरसाइकलको दिक्तेलस्थित आधिकारिक बिक्रेता इकिमा सर्भिस सेन्टर तथा साया मोटरसाइकल वर्कशपले मोटरसाइकल मर्मतमा सहयोग गर्ने भएको छ । गत वर्षको अभियानमा जोडिएर सेवा दिने मोटरसाइकल चालकलाई शुभम् फाउण्डेसनले निःशुल्क खाना तथा खाजाको व्यवस्था गराएको थियो । महिला उद्यमी संघ खोटाङका अध्यक्ष बिमला राई, युवा व्यवसायी तथा जिल्ला ब्याडमिन्टन संघ खोटाङका अध्यक्ष आशिष थापालगायतका व्यक्ति तथा संस्थाले अभियानका लागि आर्थिक तथा भौतिक सहयोग गरेका थिए।

गभर्नर पौडेलका लागि भाडाको घर खोज्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर विश्वनाथ पौडेलका लागि भाडाको घर खोजेको छ । भदौ २४ गते जेन जी आन्दोलनका क्रममा भैंसेपाटीस्थित निजी निवास जलाइएपछि उनका लागि बैंकले निवास भाडामा लिन खोजेको हो।

बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले उक्त कार्यका लागि आज घर भाडासम्बन्धी प्रस्ताव आह्वान गरेको छ । गभर्नरको आवासका लागि भनिएको सूचनामा ललितपुरको बखुण्डोलदेखि भैंसेपाटीसम्म १ रोपनीदेखि डेढ रोपनी सम्मको घर खोजिएको हो ।

६ वटा गाडी पार्किङ गर्न मिल्ने, सुरक्षा गार्ड बस्ने घर हुनुपर्ने, चार वटा बेडरुमसहित सबै सुविधा भएको साढे २ तलादेखि तीन तलासम्मको घर खोजिएको छ । असोज २७ गतेसम्म घर भाडामा दिन चाहनेले बैंकमा प्रस्ताव प्रस्तुत गर्नुपर्ने छ । गत जेठ ६ गते गभर्नर नियुक्त पौडेलको यसअघि भैंसेपाटीमा पाँच आना जग्गामा बनेको साढे २ तलाको घर थियो ।

कम्पाउण्डमा पार्किङका लागि पर्याप्त जग्गा नभएको जनाउँदै बैंकले गत असारदेखि नजिकै ६ आना जग्गा गार्ड र गाडीको लागि भाडामा लिएको थियो । यसअघि डा. चिरञ्जीवी नेपालको लागि पनि बैंंकले पाँच वर्ष महाराजगञ्जमा घर भाडामा लिएको थियो । नेपालको पनि कुसुन्तीमा रहेको घर सानो भएको जनाउँदै बैंकले निवासको प्रबन्ध गरेको थियो । यसरी लिइएको घरभाडादेखि, भित्रको सबै खर्च बैंकले तिर्ने गर्छ ।

जेनजी आन्दोलनपछि पहिलाे पटक एमाले सचिवालय बैठक गुण्डुमा {तस्वीरहरु}

काठमाडौं । जेनजी आन्दोलनपछि पहिलो पटक नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी ओलीको डेरा गुण्डुमा सुरू भएको छ । जेनजी आन्दोलन र सत्तापलटपछि पहिलोपल्ट बसेको एमालेको यो औपचारिक बैठकलाई सर्वत्र चासोका साथ हेरिएको छ ।

बालकोटस्थित निवासमा आगजनी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली गुण्डु सरेकाले उनकै निवासमा बैठक बसेको हो । भदौ २३ र २४ गते भएको जेनजीहरूको प्रदर्शनपछि ओली राजीनामा दिन बाध्य भएका थिए ।

बैठकमा जेनजी संघर्ष, भौतिक तथा मानवीय क्षति, तत्कालीन सरकारको भूमिका र पार्टीको अबको रोडम्यापबारे छलफल हुने बताइएको छ । आन्दोलनले जबर्जस्त स्थापित गरेको युवा नेतृत्वको आवाज, दलहरूमा सुरू भएको पुनर्गठन र रुपान्तरणको विषयले एमालेको बैठकमा पनि प्रवेश पाउने एक पदाधिकारीले जानकारी दिएका छन् ।

आजको बैठकले गोदावरीमा सम्पन्न विधान महाधिवेशन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिको एकसाथ समीक्षा गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले बताए । आज बस्ने सचिवालय बैठकका यी दुई प्रमुख एजेण्डा मात्र रहेको उनको भनाइ छ ।

आजको सचिवालय बैठकमा अधिकांश पदाधिकारीहरूले ओलीलाई पद छाड्न स्पष्टरूपमा आग्रह गर्ने तयारी गरेका छन् । योबीचमा ओलीले नेताहरूलाई बोलाएर गरेको वान टू वान वार्तामा पनि केही पदाधिकारीले उनलाई संरक्षकको भूमिकामा रही नेतृत्व हस्तान्तरणका लागि सहजीकरण गर्न सुझाएका छन् ।

तर, ओली भने अहिले छाड्ने पक्षमा देखिँदैनन् । उनी अहिले नेतृत्व छाड्नु भनेको अपराधी करार हुने भएकाले कुनै हालतमा छाड्ने पक्षमा छैनन् । बरु महाधिवेशन चाँडो गरेर नेतृत्व चयनको विधिमा जान उनी सकारात्मक छन् । अराजनीतिक ढंगले अघि बढ्दा पार्टीलाई क्षति पुग्ने भन्दै नेताहरू परिस्थितिको विश्लेषण गरेर संयमका साथ पार्टी पंक्तिको रक्षा र आन्दोलन जोगाउँदै अघि बढ्नुपर्ने विषय आजको बैठकमा राख्ने तयारी रहेको एक पदाधिकारीले जानकारी दिए ।

हिजो ओलीको विकल्प खोज्न नहुने पक्षमा रहेको पार्टीको तलदेखि माथिको पंक्ति विकसित घटनाक्रम र आन्दोलन तथा विध्वंसपछिको स्थिति बुझेर सम्मानजनक बहिर्गमनको पक्षमा उभिएका छन् । सँगै विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय पुनर्विचार हुनुपर्ने विषय पनि दोहोर्‍याउने तयारी छ ।

जेनजी घाइतेलाई परिचयपत्र वितरण, १६ अस्पतालमा ‘क्लिनिक’ स्थापना

काठमाडौं । जेनजी आन्दोलनको क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण थालिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले अस्पतालमै पुगेर घाइतेहरुलाई भेटेर परिचय पत्र वितरण गरेका हुन् ।

गृह मन्त्रालयको निर्णय बमोजिम जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरणसँगै अस्पतालहरुमा डेडिकेटेड जेनजी क्लिनिक समेत स्थापना गरिएको छ ।

घाइतेहरुको फलोअप उपचार व्यवस्थित होस् भन्ने उद्देश्यले काठमाडौं उपत्यकासहित देशभरका १६ अस्पतालहरुमा जेनजी क्लिनिक स्थापना गरिएको हो । साथै जेनजी आन्दोलनका घाइतेहरुलाई अस्पतालसम्म निःशुल्क आउजाउको व्यवस्था समेत मिलाइएको मन्त्रालयले जनाएको छ । जेनजी आन्दोलनका घाइतेहरुको उपचारमा सहजताका लागि अस्पतालहरुमा फोकल व्यक्तिहरु पनि तोकिएको छ ।

यी अस्पतालमा छन् जेन–जी क्लिनिक
काठमाडौं उपत्यकामा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा जेन–जी क्लिनिक स्थापना गरिएको छ ।

कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगर, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा जेनजी क्लिनिक स्थापना गरिएको छ ।

यसैगरी बागमती प्रदेशमा चितवनको भरतपुर अस्पताल र गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रष्ठिानमा जेनजी क्लिनिक स्थापना गरिएको छ । लुम्बिनीमा भेरी अस्पताल नेपालगञ्ज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला तथा सुदूरपश्चिममा डडेलधुरा अस्पताल र गेटा अस्पताल धनगढीमा जेनजी क्लिनिक स्थापना गरिएको छ ।

अर्थमन्त्री खनाल र जापानका राजदूतबीच भेट

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच शिष्टाचार भेट भएको छ । आज मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक सामाजिक विकासमा पु¥याइरहेको सहयोगका विषयमा छलफल भयो ।

छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको र यस अवधिमा पुनर्निर्माणलगायत आर्थिक सामाजिक विकासका कार्यहरुलाई निरन्तरता दिइने बताए ।

उक्त अवसरमा निर्माणाधीन नागढुङ्गा टनेल मार्ग परियोजना, तनहुँ जलविद्युत् आयोजनालगायतका सहयोगका क्षेत्रहरु र निकट भविष्यमा सम्झौता हुन गइरहेको कोटेश्वर चोक सुधार परियोजना, सिन्धुली सडक बाढी प्रभावित आपतकालीन पुनःस्थापना कार्यक्रम समेतका विविध विषयमा कुराकानी भयो । त्यस अवसरमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सह–सचिव धनिराम शर्माको समेत उपस्थिति रहेको थियो ।

नारायणकाजी लक्षित हरिबोलको टिप्पणी : नेतृत्व दिने अधिकार व्यक्तिको हातमा छैन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले नेतृत्व कसले लिने वा दिने अधिकार महाधिवेशनले टुङ्गो लगाउने विषय भएको बताएका छन् । आज (आइतबार) सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेतृत्व लिने-दिने अधिकार व्यक्तिको हातमा नभएको टिप्पणी गरेका हुन् ।

नेता नारायणकाजी श्रेष्ठतर्फ लक्षित गर्दै गजुरेलले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको सहमतिमा नेतृत्व लिन खोजिएको प्रयास असफल भएपछि केन्द्रीय समिति बैठकमा पेस भएको प्रस्ताव फिर्ता नलिएकोप्रति प्रश्न उठाएका छन् ।

‘कमरेड प्रचण्डको सहमतिसहित नेतृत्व लिन खोजिएको प्रयास असफल भएपछि त्यस पछाडि के गर्नु उपयुक्त हुन्थ्यो ? भन्ने प्रश्न आकांक्षीहरूले आफै बुझ्नुपर्ने विषय हो । अब नेतृत्व कसले लिने वा कसलाई दिने भन्ने अधिकार कसैको व्यक्तिगत हातमा छैन– यो त महाधिवेशनकै निर्णयले टुङ्गो लगाउने कुरा हो’, उनले भनेका छन् ।

अहिले नेतृत्व लिनु नभई चिन्तन गर्नुपर्ने बेला भएको र जसको विचार बलियो हुन्छ, त्यसको नेतृत्व स्वतः स्थापित हुने उनले स्पष्ट पारेका छन् । ‘अहिले चिन्ता नेतृत्व लिनु होइन, चिन्तन गर्नुपर्ने बेला हो । जसको विचार बलियो हुन्छ, त्यसको नेतृत्व स्वतः स्थापित हुन्छ’, उनले लेख्छन्, ‘आज पनि जेनजीले खोजिरहेको कुरा त्यही हो । वैचारिक स्पष्टतासहितको इमानदार र क्षमतावान् नेतृत्व, जसले आन्दोलनलाई नयाँ दिशा दिन सकोस्। प्रचण्डले नेतृत्व निरन्तरता दिने वा अर्को भूमिकामा जाने भन्ने प्रश्न पनि यही आधारमै निर्भर गर्ने गजुरेलको भनाइ छ ।

माओवादीको असोज ९ र १० गते बसेको केन्द्रीय समिति बैठकमा प्रचण्डले आफ्नै नेतृत्वमा मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । श्रेष्ठले आफूलाई कार्यबहाक अध्यक्ष दिनुपर्ने र जनार्दन शर्माले पदाधिकारी सबैले राजीनामा दिनुपर्ने प्रस्ताव गरेका थिए । श्रेष्ठ र शर्माको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।

अर्का नेता वर्षमान पुनले आगामी महाधिवेशनमा प्रचण्डले अध्यक्षमा प्रतिस्पर्धा नगर्ने बताएका थिए । प्रचण्डको भूमिका राजनीतिक वा अभिभावकीय रहे पनि सङ्गठनात्मक नेतृत्वमा प्रतिस्पर्धा नगर्ने स्पष्ट पारेका थिए ।

बेमौसमी फूल खेतीबाट मनग्य आम्दानी

दाङ । दाङको घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल ढकमक्क फुलेका छन्। उनले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आएका छन् । बेसिजन अर्थात् बेमौसमी याममा पनि उनी फूल, माला बिक्री गर्दै आएको बताउँछन् ।

चाडपर्वमा मात्र नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेको हुन्छ । व्यावसायिक रूपमा फूलखेती गरेका उनी यही व्यवसायमा सन्तुष्ट छन् । आम्दानीको पाटो पनि राम्रो भएको छ फूल खेतीबाट । फूलखेती गर्नुभन्दा अघि उनी वैदेशिक रोजगारमा थिए ।

‘विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फेर्केपछि फूलखेती थालेको हुँं’, उनले भने, ‘बाहिरी देशमा कमाएको भन्दा फूलखेतीबाटै आम्दानी हुने गरेको छ, अब विदेश नजाने बरु यही व्यवसायलाई अझ बढाउँदै लैजाने उहाँको सोच छ ।’

रोजगारीका सिलसिलामा सात वर्ष कतारमा बिताएका रोकामगरले जिल्लामा दसैँ, तिहारलगायत पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती गर्न थालेका हुन् । अहिले उनले फूललाई प्रतिकेजी रु चार सयका दरले र माला एक थानलाई रु एक सयमा बिक्री गर्दै आएका छन् ।

उमेरले ४० वर्ष पुगेका किसान मगरले विगत १३ वर्षदेखि फूलखेती गर्दै आएका छन् । यस वर्ष पनि तीन बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको बताउँछन् । जलजला पुष्प फार्मबाट व्यावसायिक रूपमा फूलखेती गर्दै आएका किसान मगरले स्थानीय केही नागरिकलाई रोजगारी समेत दिएका छन् ।

अहिले जिल्लासहित चितवन, बुटवलमा पनि फूल, माला पठाउँदै आएको बताउँछन् । उनले वार्षिक रूपमा रु ३५ लाख बढीको फूल, माला बिक्रीको कारोबार गर्छन् । यसबाट रु १०–१५ लाख वार्षिक रूपमा बचत हुने उनको भनाइ छ । असोज महिनामा विभिन्न सभा, सम्मेलन, कार्यक्रम र विवाह, पूजालगाएत कार्यमा फूलमाला बिक्री भइरहेको उनी बताउँछन् ।

उनले बिहेको माला पनि तयार पारेर बिक्री गर्दै आएका छन् । उक्त माला रु एक हजारमा बिक्री गर्ने गरेका छन् । किसान मगरले माला बनाउनका लागि बिजुलीको फूल पनि उत्पादन गरेका छन् । किसान रोकामगरले विभिन्न प्रजातिका फूलका बिरुवा पनि उत्पादन गरेर बिक्री गर्दै आएका छन् । व्यावसायिक रूपमा फूलखेती गरेका र अन्य घर वरपर सजाउनका लागि पनि फार्ममै आएर नागरिकले लैजाने गरेको उनले बताए ।

अब तिहार पनि आउँदै गरेकाले सरकारीस्तरबाट पलाष्टिकका मालालाई प्रतिबन्ध लगाएमा फूलखेती गरेका किसानलाई राहत हुने उनी बताउँछन् । पछिल्लो समय आमनागरिकले पनि स्थानीयस्तरमा उत्पादित सयपत्रीको माला नै प्रयोग गर्ने प्रचलन बढ्दै गएकोप्रति उनी खुसी छन् । यस व्यवसायमा उनलाई परिवारको पनि राम्रो साथ र सहयोग मिलेको छ ।

जिल्लामा व्यावसायिक रूपमा फूलखेती गर्ने किसानको संख्या बढ्दै जान थालेपछि यसको मूल्य पनि पहिलेको तुलनामा घट्दै गएको छ । तर आमनागरिकले कम मूल्यमा पनि स्थानीयस्तरमै उत्पादित ताजा फूलमाला प्रयोग गर्न पाएकोप्रति किसान मगर खुसी व्यक्त गर्छन् ।

विभिन्न कारागारबाट भागेका १२ कैदीबन्दी पक्राउ

गोरखा । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन् । कास्की कारगारका सात, केन्द्रीय कारागार जगन्नाथदेवलका तीन जना कैदीबन्दी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विकका अनुसार जेनजी प्रदर्शनका क्रममा तनहुँ कारागारबाट भागेका एक र बालसुधार गृह सानोठिमी भक्तपुरबाट भागेका एक जना कैदीबन्दीलाई पनि पक्राउ गरी आवश्यक प्रक्रिया पुरा गरेर सम्बन्धित कारगार तथा सुधार गृहमा पठाइएको छ ।

कास्की कारागारबाट भागेर गोरखा आइपुगेका विक्रम नेपाली, तेन्जिङ रिग्देल लामा, छेवाङ रिजिन लामा, सोनाम ल्याल्जेन लामा, बाबुराम नेपाली, राजेश विश्वकर्मा सुनार र सोनामा दोर्जे लामालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक विकले बताए ।

केन्द्रीय कारागार जगन्नाथदेवलबाट भागेका भरत ठकुरी, सुमन सुनदास र भुवन तामाङलाई पक्राउ गरेर सम्बन्धित कारागार चलान गरिएको छ । त्यस्तै तनहुँ कारागारबाट भागेका विशाल उपरकोटी र बालसुधार गृह सानोठिमी भक्तपुरबाट भागेकी सुस्मा मग्रातीलाई गोरखाबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक विकले पक्राउ परेका सबैलाई केही समय जिल्ला प्रहरी कार्यालय गोरखाको थुनुवा कक्षमा राखी कानुनी प्रक्रिया पुरा गरेर सम्बन्धित कारागार चलान गरिसकिएको जानकारी दिए । ‘गोरखाबाट पक्राउ परेकामध्ये अधिकांश गोरखा घर भएका र केही जिल्ला बाहिर घर भएकाहरू छन्’, उनले भने । प्रदर्शनका क्रममा भागेका कैदीबन्दीको सूचनासहित विस्तृत विवरण संकलन भइरहेकाले खोजी कार्य जारी रहेको उनले बताए ।

शान्ति सुरक्षा मजबुत बनाउनू : मानवअधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका कार्यालयहरू दशैँ, दिपावलीतथा छठ पर्वका बिदाका दिनमा पनि खुला रहने भएका छन् ।मानवअधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुर्गमन गर्नका लागि राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय कार्यालय, हरिहरभवन, ललितपुर तथा प्रदेश शाखाकार्यालयहरू बिदाका दिनमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने व्यवस्था गरिएको हो ।

मानव अधिकार उल्लङ्घनका कुनै घटना घटेमा आयोगका नजिकका कार्यालयमा तत्काल जानकारी गराउन आयोगले सबैमा अनुरोध गरेको छ। आयोगले विज्ञप्ति निकालेर सार्वजनिक बिदा तथा चाडपर्वको समयमा सर्वसाधारणको आवतजावतमा कठिनाइ उत्पन्न हुने, अपराधका घटनामा वृद्धि हुने, महँगी तथा कालोबजारी बढ्ने, सार्वजनिक सेवाप्रवाह र सहज आपूर्तिमा अवरोध सिर्जना हुने जस्ता क्रियाकलाप हुने संभावना रहनेतर्फ सरकारको ध्यानाकर्षण गरेको हो ।

चाडपर्वको समयमा सेवाप्रवाहलाई चुस्तदुरुस्त बनाउन र शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाउन आयोग सरकारलाई निर्देशन गरेको छ। सेवा प्रवाहलाई चुस्त बनाउने र शान्ति सुरक्षालाई मजबुत बनाउने सरकारको कार्यमा सहयोग गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको छ ।

सामुदायिक वनमा बढ्दै वन्यजन्तु र पंक्षी

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालीदमार र रातु महिला सामुदायिक वन संरक्षण गर्न थालेपछि वन्यजन्तु र पक्षीको संख्या बढेको छ । बर्दिबास–३ को चुरेकाछको बस्ती कालापानीका २१० परिवार उपभोक्ता रहेका यी दुवै वनक्षेत्रमा चरीचरण र सिकारपूर्ण रूपले बन्द गरिएपछि वन्यजन्तु र पक्षीको संख्या बढेको हो ।

करिब तीन सय ५९ हेक्टरको कालीदमार र तीन सय ५० हेक्टरको रातु महिला सामुदायिक वनका कालापानीका २१० परिवार उपभोक्ता छन् । दुवै वन एउटै क्षेत्रभित्र पर्ने भए पनि वनको संरक्षणमा महिला सहभागिता बढाउने उद्देश्यले रातु महिला सामुदायिक वन बनाइएको उपभोक्ताको भनाइ छ । यसको उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यमा सबै महिला छन् ।

‘एउटै बस्तीका उपभोक्ताका दुई वटा सामुदायिक वन भएपछि संरक्षणको पहलकदमी बढेको छ’, कालीदमार सामुदायिक वन उपभोक्ता समितिका संस्थापक सचिव बालकिशोर रायमाझीले भने, ’वन संरक्षणमा यहाँका महिलाले देखाउनुभएको अग्रसरता अनुकरणीय छ ।’ वनमा चरीचरणपूर्ण बन्द गरिएपछि एक–दुई वर्षको अन्तरालमा सालका पथरा हलक्क बढेका उनले बताए । उनका अनुसार वनमा बहुमूल्य मानिने साल –साखु, सखुवा) करिब ४० प्रतिशतभन्दा बढी छन् ।

अहिलेको कालीदमार वनक्षेत्रमा कालापानी उद्यान (पार्क) पनि निर्माण गरिएको छ । बिपी राजमार्गको दायाँ–बायाँ पर्ने यो संरक्षित वनक्षेत्रमा अहिले मयुर र लुइँचेपक्षी बाक्लै बढेका छन् । यसैगरी वनमा मृग, हरिण, दुम्सी, नीलगाई र बँदेलको संख्या पनि बढेको रायमाझीले जानकारी दिए । कालापानी उद्यानको संरक्षित वनक्षेत्रका हरिण मान्छेसँग खेल्ने गरेका उनको भनाइ छ । ‘यो वनक्षेत्रमा नयाँ चराचुरुङ्गी बढेका छन्’ उनले भने ।

वन क्षेत्रको संरक्षणमा घरघरका महिलाले प्रत्यक्ष सहभागिता जनाउन थालेपछि सकारात्मक नतिजा आउन थालेका रातु महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मुना श्रेष्ठले बताए । ‘वन संरक्षणको क्षेत्रमा हामी महिला प्रत्यक्ष रूपमा सहभागी भई पहरेदारी गर्दै आएका छौँ’, उनले भने, ‘सामूहिक प्रयत्नले अहिले वन जोगिनुका साथै बढेको पनि छ ।’ वन संरक्षणका लागि दुवैका उपभोक्ता समितिबीच आपसी समन्वय र सहकार्य हुने गरेको श्रेष्ठले बताए ।

अहिले वन संरक्षणमा महिलाको चासो बढ्दा सकारात्मक परिणाम देखिएका जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख एवं वरिष्ठ वन अधिकृत अजय मिश्रले बताए। उद्यान क्षेत्रमा बढेका विभिन्न रङका चराचुरुङ्गीको चिरिविर ९कलरब० ले त्यसक्षेत्रमा भ्रमण गर्ने पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ छ ।

‘नाम नजानिएका थरिथरिका चराचुङ्गी देखिन थालेका छन्, उद्यान क्षेत्रमा लगाइएको तारबारले घरपालुवा पशुवस्तु र मानिस छिर्न नमिल्ने बनाइएकाले अवैद चोरीसिकारी रोकिएको रहेछ’, उद्यान अवलोकनमा पुग्नुभएका होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष गुञ्जबहादुर कार्कीले भने, ‘वन संरक्षणमा देखिएको स्थानीय पहलकदमीले उद्यान क्षेत्र जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास हुने सम्भावना देखिन्छ ।’

स्थानीय नागरिकको प्रयत्न, स्थानीय निकाय, सरोकार भएका निकायको पहलमा पूर्वाधार विकासमा जोड दिन सके यो क्षेत्र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्न सकिने कार्कीले धारणा राखे । महोत्तरीमा पर्ने चुरेक्षेत्र सबै बर्दिबास नगरपालिका क्षेत्रमा मात्र छ । यहाँको सघन वनक्षेत्रसँगै रहेका पौराणिक, धार्मिक र पुरातात्विक महत्त्वका ठाउँको विकासमा सबैभन्दा पहिले स्थानीयतहले योजनाबद्ध कामको थालनी गर्नपर्ने पर्यटन व्यवसायी बताउँछन् ।

‘यहाँ महाभारतकालीन जनश्रुतिको टुटेश्वरनाथ महादेव मन्दिर, आदिशक्ति भगवतीको पञ्चधुरादेवी शक्तिपीठ, इन्द्रले तपस्या गरेर शिवजी प्रसन्न तुल्याएका राइमण्डलधाम, पाषाण युगकालीन हतियार कारखाना, लोपोन्मुख पक्षी गिद्धको बासस्थान, उच्च पहाडी क्षेत्रमा हुने जुनार, सुन्तलालगायत फल फल्ने चनौटेडाँडा र बहुमूल्य जडीबुटीको भण्डार रहेको बेसारे तथा सोलीघोप्टे पहाडी थुम्का छन्’, बर्दिबास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिका संयोजक हीरालाल गौतमले भने ।

प्रकृतिले दिएको यो अनुपम भण्डारलाई पर्यटनसँग जोडेर प्रवर्द्धन गर्नसके आर्थिक समृद्धि प्राप्त गर्न समस्या नहुने उनको भनाइ छ । यसका लागि तीनै तहका सरकारको संयुक्त पहलकदमी हुनपर्नेमा उनले जोड दिए ।

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, चाँदीको कति ?

काठमाडौं । विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रबारको तुलनामा आज बजार खुल्दा सुनको मोल तोलामा रु ७०० र त्यति नै तौलको चाँदी रु ७० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख २३ हजार २०० तथा त्यति नै परिमाणको चाँदीको मूल्य रु दुई हजार ८१० निर्धारण भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज प्रति औंस सुन तीन हजार ७५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

कांग्रेस प्रवक्ताको प्रश्न : आक्रमण हुने थाहा हुँदाहुँदै घर नछाड्ने देउवाले देश छाड्नु हुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाले देश छाड्नु पर्ने कुनै कारण नभएको बताएका छन् ।
आज (आइतबार) पत्रकार भेटघाटमा प्रवक्ता महतले देश छाडेर भाग्न लागेको भनेर झुट प्रचार गरिएको बताएका छन् ।

उनले लोकतान्त्रिक आन्दोलनमा लगातार लडिरहँदा पनि यसरी नै ‘डिमोरलाइज’ गर्न खोजिने तर सभापति देउवा त्यतिबेला पनि ‘डिमोरलाइज’ नभएको जिकिर गरे।

‘उहाँ देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता होइन । सांघातिक हमला हुने देख्दा देख्दै पनि घर छोड्नु भएन भने देश छोड्नु पर्ने कुनै कारण छैन, कल्पना नगरे हुन्छ’ उनले भने ।

प्रवक्ता महतले हरेक नेपालीले पाउने हकअनुसार नै पासपोर्ट लिइएको पनि बताएका छन् । ‘पासपोर्ट लिनु नै अपराध भयो भन्ने जस्तो भाष्य सिर्जना गर्ने कोशिस गरिएको छ’, उनले भने । प्रवक्ता महतले कांग्रेसीहरु एकजुट भएर केन्द्रिय समितिमार्फत वर्तमान परिस्थितिको समाधान खोज्न लाग्नुपर्ने बताए ।

उनले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि हस्ताक्षर संकलनले कार्यकर्ताहरुमा अन्योलता सिर्जना भएको बताउँदै यसमा केन्द्रीय समितिबाटै निचोड निस्किने बताए ।

‘अफ्ठ्यारो स्थितिमा एकजुट भएर केन्द्रीय समितिमार्फत नै सम्पूर्ण विषयवस्तुमा छलफल गर्ने र सामूहिक निष्कर्ष निकाल्ने र पार्टी पंक्तिमा उत्साह भर्ने काम गर्नेछौँ । अधिवेशन प्रक्रियालाई पनि हामी चाँडो भन्दा चाँडो हामीले केन्द्रिय समितिले नै सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्ने कुरामा दुईमत छैन,’ उनले भने ।

जेनजीका नाममा विध्वंश गर्नेलाई आयोगका नाममा उन्मुक्ति दिइनु हुँदैन : भीमार्जुन आचार्य

काठमाडौं । संविधानविद भीमार्जुन आचार्यले भदौं २४ गते जेनजीका नाममा लुटपाट, आगजनी र तोडफोड गर्ने व्यक्तिमाथि कारवाही गर्नका लागि प्रचलित कानून पर्याप्त रहेकाले आयोगको बहानामा उन्मुक्ति दिन नहुने टिप्पणी गरेका छन् ।

गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले भदौ २३ को घटनाको छानविन गरेर कारवाहीका लागि सिफारिस गर्न सक्ने तर २४ गतेको घटनामा आयोगले केही मद्दत गर्न नसक्ने प्रष्ट पारेका छन् ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ घतेको घटनाबारे छानविन गर्न गठित समितिले प्रतिवेदन नदिएसम्म कसैमाथि धरपकड नहुने भनेकोमा बरिष्ठ अधिवक्ता आचार्यले आपत्ति जनाएका हुन् ।

आचार्यले वक्तव्यमा भनेका छन्–आयोग गठनको कारण देखाइ अपराधमा संलग्न व्यक्ति उपर कुनै कारबाही नै अघि नबढाउनु भन्नु उचित होइन । यसले त घटनालाई ढाकछोप गर्न खोजे जस्तो देखियो । २३ गतेको घटनामा आयोगको प्रतिवेदन केही हदसम्म उपयोगी हुन सक्ला, तर २४ गतेको घटनाका लागि यसले केही मद्दत गर्न सक्दैन ।

आगो लगाउने, लुटपाट गर्ने जस्ता कार्यका लागि प्रचलित कानून नै पर्याप्त रहेकाले आयोगको बहाना बनाउनु ठीक भएन । आफ्ना केही स्वतन्त्रताको परित्याग गरि व्यक्ति राज्यको अधीनमा बस्न मञ्जुर गर्नु पछाडिको मुख्य कारण सुरक्षा नै हो । आफ्ना नागरिकको जीउ, ज्यान र सम्पत्तिको सुरक्षा राज्यको पहिलो दायित्व हो । यो राज्य बस्न लायक छ, अनूभूत हुनु पर्‍यो ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बन्न अस्वीकार गरेका आचार्यले आयोग गठनको कारण देखाएर अपराधमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिइनु घटनालाई ढाकछोप गर्न खोजेको मानिने समेत बताएका छन् ।

रास्वपा संस्थापनलाई तोसिमाको चुनौती : हिम्मत भए विशेष महाधिवेशन ‘फेस’ गर

काठमाडौं । रास्वपा नेता तथा पूर्व राज्यमन्त्री डा. तोसिमा कार्कीले पार्टीको संस्थापन पक्षले आफूविरुद्ध मिडिया ट्रायल र साइबर बुलिङ गरिरहेको भन्दै कडा आपत्ति जनाएकी छन् । उनले हिम्मत भए विशेष महाधिवेशन फेस गर्न चुनौती समेत दिएकी छन् ।

कार्कीले वक्तव्य जारी गर्दै पार्टीलाई थप सुदृढ बनाऔँ, सफल बनाऔँ, समय सापेक्षिक रुपान्तरण गरौँ भनी जिम्मेवारपूर्ण तरिकाले राजनीतिक विषय उठान गर्दा बुलिङ गरिएको भन्दै कडा आपत्ति जनाएकी छन् । उनले भनेकी छन्, ‘साइबर बुलिङ र मिडिया ट्रायल गर्ने र गर्न लाउने अनि त्यो सब टुलुटुलु हेरेर बस्ने महाशयहरुको सार्वजनिक भण्डाफोर गर्नु नपरोस् ।

कहिले राजीनामा दिन लाग्यो भनेर अफवाह फैलाउने, कहिले पार्टी बनाउने उद्देश्यका साथ पेश गरिएको पत्रको ४ बुँदा राम्रोसँग अध्ययन समेत नगरी पार्टी सभापतिको विकल्प खोज्यो भनेर विषय अतिरञ्जित गर्ने, विकल्प खोज्नेलाई छाड्न हुन्न, पार्टीबाट निकाल्नु पर्छ आदि भनेर भ्रम छर्न खोज्ने ? हिम्मत भए संस्थापनले खुल्ला विशेष अधिवेशन गरोस्, पार्टी सभापतिको आशीर्वाद लिएर लाखौं कार्यकर्ता तथा शुभेच्छुकको मत लिएर दिइएको जिम्मेवारी सम्हाल्ने आँट छ तोसिमासँग । कार्कीले प्रोपागाण्डा र हेपाहा बोलीसँग रत्तिभर नडराउने प्रष्ट पारेकी छन् ।

जेनजी अगुवालाई बाबुराम भट्टराईले सुनाए ‘दासढुंगा प्रकरण’ जोडिएको घटना

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन–जी अगुवा र जेन–जी विद्रोहको जगमा बनेको अन्तरिम सरकार दुवैलाई उपयोगी सन्दर्भ–सामग्री बन्न सक्ने भन्दै ‘आफ्नै जीवनको सत्य घटना’ सुनाएका छन् ।

आज (आइतबार) सामाजिक सञ्जालमार्फत उनले २०५० जेठ ३ गते चितवनको दासढुंगा नजिक त्रिशूलीमा जीप खसेर तत्कालीन एमाले नेताहरू मदन भण्डारी र जीवराज आश्रितको निधन भएपछि देशमा जनआक्रोश पैदा भएका बेलाको घटना स्मरण गराएका हुन् । डा. भट्टराईले त्यसबेला भएको आन्दोलनपपछि आफू पनि सहभागी वार्तामा आन्दोलनकारीलाई कसरी झुक्याइयो भन्ने कुरा उल्लेख गरेका छन् ।

पढ्नुस् भट्टराईले सुनाएको कथाः
२०५० जेठ ३ गते चितवनको दासढुंगा नजिक त्रिशुलीमा जीप खसेर तत्कालीन एमाले नेताहरू मदन भण्डारी र जीवराज आश्रितको दुःखद निधन भएपछि देशमा ठुलो जनआक्रोश पैदा भयो । थप जनधनको क्षति हुनथाल्यो ।

एमाले, तत्कालीन माओवादीको खुला मोर्चा संयुक्त जनमोर्चा (संजमो) लगायतको संयुक्त नेतृत्वमा आन्दोलन चर्कंदै गयो । निष्पक्ष छानबिन, दोषीलाई कारबाहीलगायतका मागहरू अतिरिक्त तत्कालीन प्रम गिरिजाप्रसाद कोइरालाले राजीनामा गर्नुपर्ने मुख्य मागहरू बने । सरकार टसमस भएन ।

महिनौँको संघर्षपछि भदौको कुनै दिन सरकार र आन्दोलनकारीबीच वार्ता गर्ने सहमति भयो । आन्दोलनकारीहरूको तर्फबाट तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी, वरिष्ठ वामपन्थी नेता शम्भुराम श्रेष्ठ र संजमोको अध्यक्ष म चयन भयौं । सरकार पक्षबाट कांग्रेस सभापति तथा पूर्वप्रम कृष्णप्रसाद भट्टराई (किसुनजी) खटिनुभयो । ललितपुर सानेपाको कुनै घरमा वार्ता भयो ।

लामो रस्साकस्सीपछि अरू कुराहरूमा सहमति बन्दै गयो । तर प्रमको राजीनामाबारे सहमति हुन निकै सकस पर्‍यो । हामी पनि टसमस भएनौं। अन्त्यमा किसुनजीले भन्नुभयो, ‘लौ त्यो माग पनि तपाईंहरूको पूरा हुन्छ । म जिम्मा लिन्छु ।’
हामीले भन्यौं, ‘मिति तोक्नु पर्छ ।’

किसुनजीले भन्नुभयो, ‘लौ लौ, भदौ ३० गते ! मेरो वचन भयो ।’
मेरो मनमा शंका लाग्यो । किनकि म त्यतिबेला ३९ वर्षको जल्दोबल्दो थिएँ ।
मैले भनें, ‘किसुनजी, यसको एउटा लिखत गरौं न त !’

किसुनजीले बोल्नु अघि नै उहाँका समवयी र मेरा पिताको उमेरका मनमोहनजी र शम्भुरामजीले एकै स्वरमा भन्नुभयो, ‘किसुनजी जस्तो सन्त नेताले भनेपछि भैगो नि ! उहाँको वचन नै लिखतभन्दा बलियो हुन्छ ।’
म हिस्स परें ।

भदौ ३० गते आयो । प्रम गिरिजाप्रसाद कोइरालाले राजीनामा गर्नु भएन ।
बरु ‘सन्त नेता’ ले पो भन्नु भयो, ‘मैले राजीनामाबारे आश्वासन दिएकै थिइनँ ।’
सबै फासफुस भयो ।

यसको पाठ हो–राजनीति धेरै निर्मम हुन्छ । निरपेक्ष विश्वास हैन, शंकासहितको विश्वास गर्नुपर्छ । विशेषतः अहिले नयाँ इतिहास बनाइरहेका जेन–जी अभियन्ताहरूले पनि सिक्ने कि ?

जेनजी आन्दोलनमा तोडफोडमा संलग्नलाई पक्राउ नगर्न प्रहरीलाई दबाब

काठमाडौं । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते सिंहदरवार, सर्वोच्च अदालत लगायत सरकारी कार्यालय तोडफोड गर्नेहरूलाई पक्राउ नगर्न प्रहरीलाई दबाब दिइएको छ । जेनजी आन्दोलनमा तोडफोड, लुटपाट र आगजनी गर्नेहरूको फोटो, भिडियो संकलन गर्दै प्रहरीले कारबाहीमा ल्याउन थालेपछि पक्राउ नगर्न गृह मन्त्रालयले दबाब दिएको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई यस्तो दबाब दिएको खुलेको छ । ‘काठमाडौंबाट प्रहरीले तोडफोड लुटपाटमा संलग्न एक सयभन्दा बढी पक्राउ गरेपछि यस्तो दबाब आयो,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।

प्रहरीले आफैबाट लुटिएका हतियार खोज्नुपर्ने बाध्यता रहेका कारण शंकास्पद व्यक्तिहरू पक्राउ गरिरहेको छ । जेल र हिरासतबाट भागेका कैदीबन्दी तथा थुनुवाहरूले आक्रमण गरेको आशंकामा पनि प्रहरीले पक्राउ गरिरहेको छ । महाराजगञ्ज वृत्तमा डिएसपी भन्दै मारिएका प्रहरी जवानको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रहरी कार्यालयमा आगो लगाउनु पर्छ भनेर बोल्नेलाई पनि सामाजिक सञ्जालमा आएका भिडियो हेर्दै प्रहरीले धमाधम कानुनी दायरामा ल्याइरहेको अवस्थामा गृह मन्त्रालयले जेनजीको आन्दोलनमा सहभागी भएकाहरूलाई दुःख दिनु हुँदैन भन्दै पक्राउ नगर्न निर्देशन दिएको प्रहरी स्रोतले जनाएको छ ।

यही विषयलाई लिएर गृह मन्त्रालयले विज्ञप्ति पनि जारी गरेको देखिन्छ । मन्त्रालयले जेनजी आन्दोलनको न्यायिक छानबिन आयोग बनेकाले त्यसको आधारमा मात्रै कारबाही गर्नुपर्ने भन्दै विज्ञप्ति जारी गरेको छ । जसले गर्दा अहिले पक्राउ परेका केही व्यक्तिहरू पनि छुटिसकेको स्रोतको दाबी छ ।

लुटिएका प्रहरीको बर्दी लगाएर रामरमाइलो गरिरहेका व्यक्तिहरूको अनेक भिडियो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भइरहेको छ । त्यस दिन आन्दोलनकारीको भिडमा मिसिएर एक बर्खास्त प्रहरी जवान पनि प्रहरी कार्यालयमा आगो झोस्दै हिँडेका थिए । उनीहरूको गतिविधि प्रहरीलाई टुलुटुलु हेर्न बाध्य पारिएको छ ।

जेनजी वार्ता टोलीमा आफ्नो नाम आएपछि रक्षाको आपत्ति : ‘रोटी सेक्ने’ अनुहार जन्मिनु गम्भीर

काठमाडौं । जेन–जी आन्दोलनकी अभियन्ता रक्षा बमले आफूलाई राष्ट्रपतिसँग वार्ता गर्ने टोलीमा एकतर्फी ढंगले समेटिएको भन्दै आपत्ति जनाएकी छिन् ।

उनले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै ८–९ सेप्टेम्बरमा भएको जेन–जी आन्दोलनमा फरक–फरक समूहको सक्रियता सर्वविदित भए पनि त्यसकै आडमा ‘रोटी सेक्ने’ अनुहार र समूह जन्मिनु गम्भीर विषय भएको बताइन् ।

‘साथीहरूले मेरो नाम मलाई नै थाहा नदिई एकतर्फी राखेर सार्वजनिक गर्नु नितान्त गलत हो,’ बमले भनेकी छन्, ‘त्यहाँ मेरो नाम हुनु तर हस्ताक्षर नहुनुले नै धेरै कुरा प्रष्ट पारिसकेको छ ।’ उनले वार्तामा सहभागी हुने टोलीबारे आफू अनभिज्ञ रहेको र त्यहाँ समावेश माग–मुद्दा पनि नपढेको उल्लेख गर्दै सो प्रक्रियामा ऐक्यबद्धता जनाउन नसक्ने बताएकी छन् ।

बमले जेन–जी आन्दोलनले सरकारलाई म्यान्डेट दिइसकेको स्मरण गराउँदै उक्त म्यान्डेटभन्दा बाहिर जाने प्रयत्न भए सडकबाट खबरदारी गर्ने चेतावनी समेत दिइन् । ‘वार्तामा जाने भनिएका साथीहरू सचेत हुनुहुन्छ भन्ने आशा छ । तर, यदि टोली गलत दिशातर्फ मोडिएको पाइएमा त्यसविरुद्ध आवाज उठाउन हामी प्रतिबद्ध छौँ,’ उनले भनेकी छन् ।

 

कांग्रेस फेरि उठ्छ : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले लोकतन्त्र र देशलाई कमजोर पार्न खोज्ने शक्तिहरु सफल नहुने दावी गरेका छन् । आइतबार बिहान निजी निवास महाराजगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले फेरि पार्टीहरु जागरुक भएर, एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत बनाउन अघि बढ्ने बताए । कांग्रेस पुनः माथि उठ्ने बताए । भएका कतिपय कमजोरी त्रुटीहरुलाई पनि समीक्षा गरेर अघि बढ्ने बताए ।

पार्टी कार्यालय र नेताहरुको घर आगजनी, तोडफोड गरे पनि आत्मविश्वास नहारेको र पुनः जागरुक भएर उठ्ने अठोट व्यक्त गरे । ‘हामी फेरि माथि उठ्छौँ । लोकतन्त्रलाई कमजोर गर्न खोज्ने, देशलाई कमजार गर्न खोज्ने शक्ति सफल हुनेछैन । फेरि पार्टीहरु जागरुक भएर, एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत गर्न हामी अघि सर्नेछौँ । हामीमा भएका कतिपय कमजोरी त्रुटीहरुलाई पनि समीक्षा गर्नेछौँ’ उनले भने ।

प्रवक्ता महतले राजनीतिक दलहरुलाई थाङथिलो पार्ने षड्यन्त्रअनुसार काम गरिएको भन्दै ठूलो बलिदान र त्याग तपस्याबाट राजनीतिक दलहरु निर्माण भएको बताए । कांग्रेस समीक्षासहित आउने कार्यदिशा तय गर्ने बताए । नेपाललाई विकास निर्माण र रोजगारीको कोषमा लैजाने बारेमा कांग्रेसले गम्भीर चिन्तन गर्ने बताए ।

नयाँ पुस्ताको इच्छा–अभिलाषालाई राज्य व्यवस्थाले समेट्नै पर्छ : पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ पुस्ताको इच्छा–अभिलाषालाई राज्य व्यवस्थाले समेट्नै पर्ने बताएका छन् । विजया दशमी तथा दीपावलीको अवसरमा जारी शुभकामना सन्देशमार्फत पूर्व राजाले नयाँ पुस्ताको मागलाई समर्थन जनाउँदै सरकारलाई त्यसलाई पूरा गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले भनेका छन्, ‘नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्दछ । विकसित हुँदै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नैपर्छ ।’

उनले युवा पुस्तामा निहीत देशभक्तिको भावना, ऊर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने प्रस्ट पारेका छन् । ‘हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौँ । बिगार्ने, भत्काउने, जलाउनेतिर नै हाम्रो राजकाज धेरै खटि परे,’ उनले भनेका छन्, ‘अब बिगार्ने होइन, सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढ्नु पर्दछ ।’

पूर्वराजा ज्ञानेन्द्रले सही, सत्य, अग्रजहरूको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत पनि हुनै पर्ने शुभकामना सन्देशमा उल्लेख गरेका छन्। उनले सन्देशमा भनेका छन्, ‘जे भयो भयो, जे जे नहुनु थियो, त्यो सबै भयो । अबको नयाँ पुस्ता, आउँदै गरेको नयाँ समय, आशा, विश्वास र भरोसाका साथ अघि बढोस्।’

यस पटकको दशैंमा पूर्व राजाले सर्वसाधारणलाई टिका नलगाई दिने घोषणा पनि गरेका छन् । जेनजी आन्दोलनका क्रममा शहीद भएका घटनाले देश शोकमग्न भएको र संवेदनशील वातावरणलाई मध्यनजर गर्दै सार्वजनिकरूपमा टीका लगाइ दिने कार्यक्रम नगर्ने निर्णय गरेको उनले स्पष्ट पारेका छन् ।

पूर्व राजाले वर्तमान परिस्थितिलाई राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा रहेको भन्दै यस पटकको दशैंलाई पारिवारिक र सांस्कृतिक रुपमा मात्र सीमित गर्न बाध्य भएको बताएका छन् । ‘सही, सत्य, अग्रजको आदर, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत हामीमा हुनै पर्दछ । जे भयो, अबको नयाँ पुस्ता आशा, विश्वास र भरोसाका साथ अघि बढोस्’ उनले शुभकामना सन्देशमा भनेका छन् ।

स्वकीय सचिवको सुविधाले लोकतन्त्र बदनाम : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले लोकतन्त्र र संसदीय व्यवस्थालाई बदनाम पार्ने एउटा कारण स्वकीय सचिवको सुविधा भएको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘संसद्को अभिलेख हेर्दा हुन्छ, ९० प्रतिशत सांसदले स्वकीय सचिवमा आफ्ना छोरा–छोरी, श्रीमान–श्रीमती, साला–साली, भाइ–भतिजा आदि आफन्तको नाम राख्छन् ।’ राज्य कोषको यो दुरुपयोग सधैँका लागि रोकिनुपर्ने माग उनको छ ।

सल्यान दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत

सल्यान । राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा आज बिहान भएको गाडी दुर्घटनामा मृत्यु भएका सबै तीन जनाको सनाखत भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–५ बस्ने अन्दाजी २५ वर्षीय प्रकाश केसी, सोही ठाउँकै अन्दाजी ६८ वर्षीया पबी केसी र अन्दाजी २७ वर्षीय शशीधर केसी छन् ।

पबी केसीको पहिचान उनको साथमा रहेको नागरिकताको आधारमा गरेको र शशीधरको पहिचान गाउँपालिका अध्यक्ष टेकबहादुर बाँठाले गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी आज बिहान करिब चार बजे सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।

दुर्घटनामा बाफीकोट गाउँपालिका–५ कै अन्दाजी ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी घाइते छन् । उनीहरुको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । घाइते दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचार पश्चात थप उपचारका लागि आज बिहान ६ बजेतिर बाँकेको नेपालगञ्ज रिफर गरिएको छ ।

राति १० बजेको समयमा प्रहरी चौकी कपुरकोट सल्यानको चेकपोइन्टमा इन्ट्री गरेको विवरण अनुसार गाडीमा ३ पुरुष २ महिला गरी जम्मा ५ जना सवार थिए । दुर्घटनास्थलमा प्रहरी चौकी कपुरकोटबाट प्रहरी सहायक निरीक्षक गोपाल वहादुर वलीको कमाण्डमा ट्राफिकसहित ७ जनाको टोली परिचालित भएको थियो ।

त्यसपछि इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक वीरेन्द्र राज गुरुङको कमाण्डमा थप ९ जनाको टोली खटिएको थियो । घटनास्थल प्रहरी चौकी कपुरकोटबाट अन्दाजी ६ किलोमिटर दक्षिणतर्फ र इलाका प्रहरी कार्यालय लुहामबाट करिब २६ किलोमिटर पूर्व पर्दछ ।

जेनजी आन्दोलनपछि आज पहिलो पटक एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । जेनजी आन्दोलनपछि आज (आइतबार) पहिलो पटक नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा आज दिउँसो १ बजे भक्तपुरको गुन्डुस्थित ओलीको डेरामै सचिवालय वैठक बस्ने भएको हो ।

बैठकमा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । जेनजी आन्दोलनपछि पूर्व प्रधानमन्त्री ओलीले शनिबार पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको दशैं भेटघाट कार्यक्रममा उपस्थित भएर पहिलो पटक सार्वजनिक भाषण दिएका थिए ।

उनले सुशीला कार्की नेतृत्वको वर्तमान नागरिक सरकार जनताको अभिमतबाट नभई तोडफोड र आगजनीका माध्यमबाट बनेको भनी आलोचना गरेका थिए । उनले देशलाई अघि बढाउने पार्टी एमाले नै भएको जिकिर समेत गरेका थिए ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका ओली त्यसबेलादेखि नेपाली सेनाको सुरक्षामा थिए । त्यसको ९ दिनपछि यही असोज २ गते सेनाको ब्यारेकबाट बाहिरिएर उनी भक्तपुरको गुन्डुस्थित डेरामा सरेका हुन् ।

 

सल्यानमा गाडी दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

दाङ । रुकुमबाट दाङ आउँदै गरेको गाडी सल्यानमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । आज (आइतबार) बिहानै लु २ ख ६५०२ नम्बरको गाडी कपुरकोट ३ चोरखोला क्षेत्रमा सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको छ भने एक महिला र एक पुरुष गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई थप उपचारका लागि दाङ ल्याइएको छ । मृतक तथा घाइतेको नाम, ठेगाना खुलेको छैन ।

सुर्खेत गाडी दुर्घटना हुँदा १७ जना घाइते
यस्तै सुर्खेतमा आज (आइतबार) बिहान भएको गाडी दुर्घटना घाइते भएका सबैको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गाडी दुर्घटनमा १७ जना घाइते भएका छन् ।

आइतबार बिहान करिब ४ बजेको समयमा रत्नराजमार्ग अन्तर्गत वीरेन्द्रनगर नगरपालिका–११ ठूलो ब्युरेनिस्थित रत्नराजमार्गमा बाँकेको कोहलपुरबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ११२९ नम्बरको ईभी गाडी दुर्घटनमा परेको थियो ।

प्रहरीका अनुरासार घाइतेमध्ये ८ जनाको प्रदेश अस्पताल कालगाउँमा र ९ जनाको देउती नर्सिङहोम अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यी हुन् सुर्खेतको गाडी दुर्घटनामा घाइते हुने यात्रु
प्रदेश अस्पताल कालागाउँमा उपचारत घाइते
१. चालक जिल्ला सुर्खेत बराहताल गाउँपालिका ४ बस्ने बर्ष ३८ को हरी मल्ल कम्मरमा चोट अवस्था मध्यम रहेको।
२. जिल्ला जुम्ला चन्दननाथ नपा १ बस्ने बर्ष १८ को दिपेन्द्र दमाई बाँया हातमा चोट अवस्था सामान्य रहेको ।
३. जिल्ला जुम्ला सिंजा गापा ५ बस्ने बर्ष २८ को महेन्द्र शाही बाहिरी चोटपटक नदेखिएको अवस्था सामान्य रहेको
४. जिल्ला सुर्खेत वीरेन्द्रनगर नपा ३ बस्ने बर्ष ३८ को लाल ब। शाही बाँया गालामा चोट अवस्था सामान्य रहेको ।
५. ऐ ऐ बस्ने बर्ष २७ की लक्ष्मी कठायत बाहिरी चोटपटक नदेखिएको अवस्था सामान्य रहेको ।
६. ऐ ऐ वडा न ११ बस्ने बर्ष ३८ को नरेश शाही नाकमा चोट अवस्था सामान्य रहेको ।
७. सुर्खेत लेकबेशी नपा ६ बस्ने बर्ष ३५ को पर्शुराम घर्ती मगर बाँया कुँममा चोटअवस्था सामान्य रहेको ।
८. जिल्ला दैलेख दुल्लु नपा ६ बस्ने बर्ष २३ को शम्सेर खड्का बाहिरी चोटपटक नदेखिएको अवस्था सामान्य रहेको ।

देउती नर्सिङहोम सुर्खेतमा उपचार भइरहेका घाइते
९. जिल्ला दैलेख दुल्लु नपा– ११ बस्ने बर्ष ३० को लक्ष्माण कार्की टाउकोमा चोट अबस्था सामान्य ।
१०. जिल्ला जुम्ला सिंजा गापा ३ बस्ने बर्ष २४ की राज्य लक्ष्मी हमाल दुबै हात खुट्टामा सामान्य चोट।
११. जिल्ला दैलेख दुल्लु नपा १० बस्ने बर्ष २६ गणेश योगी दुबै हातमा चोट अवस्था सामान्य।
१२. जिल्ला कालिकोट पचाल झरना गापा ३ बस्ने बर्ष २२ को रोशन विक घाँटीमा चोट अवस्था सामान्य।
१३. जिल्ला जुम्ला सिंजा गापा ४ बस्ने बर्ष २२ को ऐन रोकाय छातीमा चोट अवस्था सामान्य।
१४. ऐऐवडा १ बस्ने बर्ष १६ की रक्षा धिताल दुबै हातमा चोट अवस्था सामान्य।
१५. ऐऐ वडा ५ बस्ने बर्ष २२ की बिष्णु शाही टाउको,हात र खुट्टामा चोट अवस्था सामान्य।
१६. जिल्ला मुगु सोरु गापा ९ बस्ने बर्ष ३२ को दिनेश शाही छाती र टाउकोमा चोट अवस्था सामान्य।
१७. जिल्ला जुम्ला चन्दननाथ गापा १ बस्ने बर्ष २१ को श्री परियार कम्मर र हातमा चोट सामान्य।