`

लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन : प्रधानमन्त्री

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन भएको बताएकी छन् । ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले नागरिकले भय, प्रलोभन वा दबाब बिना आफ्नो प्रतिनिधि छान्ने वातावरण सुनिश्चित गर्नु राज्यको मौलिक दायित्व भएको बताइन् ।

फागुन २१ को निर्वाचनलाई मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको प्रधानमन्त्री कार्कीको दाबी छ । समयमै निर्वाचन सम्पन गर्न सबै पक्षलाई सहयोग गर्न आह्वान गरिन् । निर्वाचनमा खटिने सुरक्षा निकाय कर्मचारीलाई उच्च मनोबलमा काम गर्ने वातावरण सरकारले मिलाउने बताइन् । सम्पूर्ण बालिग नेपालीको मताधिकारलाई सुनिश्चित गर्दै सबै राजनीतिक दललाई निर्वाध रुपमा भाग लिन आग्रह गरिन् । उनले निर्वाचन लोकतान्त्रिक अनुष्ठान भएकाले यसलाई सफल पारी मानव अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गर्न समेत अनुरोध गरिन् ।

मानव अधिकारको सबैभन्दा ठूलो चुनौति भ्रष्टाचार भएको बताइन् । उनले भ्रष्टाचार आर्थिक अनियमितता मात्रै नभइ विपन्न, अशक्त र अवसरबाट वञ्चित नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर मानव अधिकार उल्लङ्घन भएको बताइन् । सरकारले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्ने वचनवद्धता व्यक्त गरेको बताइन् । पारदर्शिता र जवाफदेहिताको वातावरण बिना मानव अधिकार सुरक्षित रहन नसक्ने भन्दै यस दिशामा सरकार दृढतापूर्वक अघि बढिरहेको दाबी गरिन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘विशेष गरी हाम्रो नयाँ पुस्ता जेनजीले मानव अधिकारलाई कानुनी ग्रन्थमा सीमित नराखेर व्यावहारिक नतिजासँग जोडेर हेर्ने गरेको छ । सामाजिक सञ्जाल तथा डिजिटल प्लाटफर्ममार्फत उनीहरूले गरिरहेको खबरदारी लोकतन्त्रको सुन्दर प्रकटीकरण हो र म यसलाई सम्मान गर्दछु । सरकार युवाहरूको डिजिटल अधिकार, गोपनीयताको अधिकार, नवप्रवर्तन र सिर्जनात्मक क्षमतालाई नीति निर्माण र कार्यान्वयनमा समाहित गर्न दृढताका साथ अघि बढ्नेछ ।’

उनले भनिन्, ‘मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार नै हो । भ्रष्टाचार आर्थिक अनियमितता मात्रै होइनस यो विपन्न, अशक्त र अवसरबाट वञ्चित नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर मानव अधिकार उल्लङ्घन हो । जब कुनै आयोजना भ्रष्टाचारले ग्रस्त हुन्छ, बिरामी नागरिक उपचार पाउने अधिकारबाट वञ्चित हुन्छन्, विद्यार्थी गुणस्तरीय शिक्षाबाट रोकिन्छ । यसैले सरकारले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्ने वचनवद्धता व्यक्त गरेको छ ।’
प्रधानमन्त्री कार्कीले थपिन्, ‘पारदर्शिता र जवाफदेहिताको वातावरणबिना मानव अधिकार सुरक्षित रहन सक्दैन र यस दिशामा सरकार दृढतापूर्वक अघि बढिरहेको छ । लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन हो । नागरिकले भय, प्रलोभन वा दबाबबिना आफ्नो प्रतिनिधि छान्ने वातावरण

सुनिश्चित गर्नु राज्यको मौलिक दायित्व हो । २०८२ फागुन २१ को निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ । समयमै निर्वाचन सम्पन गर्न सबै पक्षलाई सहयोग गर्न नेपाल सरकार अपिल गर्दछ । साथै निर्वाचनमा खटिने सुरक्षा निकाय कर्मचारीलाई उच्च मनोबलमा काम गर्ने वातावरण सरकारले मिलाउनेछ । सम्पूर्ण बालिग नेपालीको मताधिकारलाई सुनिश्चित गर्दै सबै राजनीतिक दललाई निर्वाध रुपमा भाग लिन र निर्वाचनजस्तो यस लोकतान्त्रिक अनुष्ठानलाई सफल पारी मानव अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गर्न समेत अनरोध गर्दछु ।’

प्रधानमन्त्री कार्कीले नयाँ पुस्ता (जेन–जी) ले मानव अधिकारलाई कानूनी ग्रन्थमा सिमित नराखेर व्यावहारिक नतिजासँग जोडेर हेर्ने गरेको बताइन् । सामाजिक सञ्जाल तथा डिजिटल प्लाटफर्ममार्फत उनीहरूले गरिरहेको खबरदारी लोकतन्त्रको सुन्दर प्रकटीकरण भएको बताइन् । सरकार युवाहरूको डिजिटल अधिकार, गोपनीयताको अधिकार, नव प्रवर्तन र सिर्जनात्मक क्षमतालाई नीति निर्माण र कार्यान्वयनमा समाहित गर्न दृढताका साथ अघि बढ्ने बताइन् ।

 

कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टी सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘साथीहरूको जिज्ञासा मेरो धारणा । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित,’ नेता भण्डारीले लेखेका छन् ।

देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकताअनुसार आफू अघि बढ्न तयार रहेको उनले बताएका छन् । नेता भण्डारीले साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्नु पर्ने पनि उल्लेख गरेका छन् । ‘देश, जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु,’ उनले लेखेका छन्, ‘साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्न पर्दछ ।’ १४औं महाधिवेशनमा भण्डारी कांग्रेसमा इतर समूहको नेतृत्व गर्दै आएका नेता भण्डारी डा. शेखर कोइरालाको समूहबाट उपसभापतिका उम्मेदवार थिए । उपसभापतिको दौडमा १,५८० मत पाएर भण्डारी चौथो भएका थिए ।

के गर्लान् कार्यवाहक सभापति खड्का ?

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन नजिकिँदै गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्का दलभित्रको राजनीतिक समीकरणको केन्द्रमा छन् ।यसबीच सुर्खेत क्षेत्र नं. १ ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनको एकल नाम सिफारिस गर्दै खड्काको सांगठनिक पकड पुनः पुष्टि गरेको छ ।

यसअघि २०७९ सालमा पनि उनी यही क्षेत्रबाट सर्वसम्मत सिफारिस भएका थिए । समानुपातिकतर्फ नरबहादुर सोनी र भीमा मल्लका नाम सिफारिस गरिएका छन्।जेनजी आन्दोलनका क्रममा घाइते सभापति शेरबहादुर देउवाले नेतृत्व खड्कालाई हस्तान्तरण गरेपछि दलभित्र उनको भूमिका बढेको हो । उपसभापति हुँदै कार्यवाहक सभापति बनेका उनले २०४८ सालमा संसदीय यात्रा सुरु गरेदेखि मन्त्री, महामन्त्री, उपप्रधानमन्त्री–रक्षामन्त्री हुँदै कार्यवाहक प्रधानमन्त्रीसम्मको अनुभव बटुलेका छन् ।

महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसमा सभापति पदका दाबेदारहरू खुल्न थालेका छन्–डा. शेखर कोइराला र गगन थापा स्पष्ट रूपमा मैदानमा छन् । ‘सात भाइ’ समूह भने एकमतमा पुग्न सकेको छैन । यिनैबीच खड्काको नाम संस्थापन पक्षका सम्भावित उम्मेदवारको रूपमा भित्रभित्रै चलाइएको देखिन्छ । पार्टीभित्र देउवाको ‘पछिल्लो विकल्प’ का रूपमा उनलाई हेर्ने धारणा पनि बढेको बताइन्छ ।

खड्का निकट नेताहरूका अनुसार उनले सभापति देउवाको समर्थनको खोजी गरिरहेका छन् र आन्तरिक छलफलहरुमा देउवाबाट सकारात्मक संकेत आएको दाबी पनि छ । कार्यवाहक सभापतिसँग नजिक ठानिने नेता रामहरि खतिवडाले ‘दाबी स्वाभाविक भए पनि उनले अझै सार्वजनिक रूपमा नबोलेको’ बताएका छन् । भेटघाटमा खड्काले आफू सभापतिको आकांक्षी भएको संकेत गर्ने गरेको उनी बताउँछन् ।

संस्थापन पक्षीय केही नेताले महाधिवेशनअघिको शक्ति–सन्तुलन जटिल भएकाले देउवाले नाम सार्वजनिक नगरेको तर आन्तरिक छलफलमा खड्कातिर झुकाव देखिएको बताएका छन् । समूहभित्र अन्य नेताहरूको तुलनामा खड्कालाई ‘कम विवादित’ विकल्पका रूपमा पनि व्याख्या गरिने गरिएको छ । यद्यपि कांग्रेसभित्र प्रमुख प्रश्न अझै अनिश्चित छ–‘सात भाइ’ समूह एकै ठाउँमा टिक्छ कि फुट्छ ? र खड्का अन्तिम घडीमा संस्थापनको एक मात्र उम्मेदवारको रूपमा उभिन्छन् कि अर्कै संयोजन बन्छ ?

एमाले महाधिवेशन : मित्रवत कि कटुतापूर्ण ?

काठमाडौं । नेकपा एमालेको आसन्न महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनलाई लिएर पार्टीभित्र ‘गर्मागर्मी’ बढ्दै गएको छ । तर महासचिव शंकर पोखरेलले प्रतिष्पर्धा बढे पनि त्यसले पार्टीभित्र कटुता होइन, ‘मित्रवत्’ वातावरण नै बनाउने दाबी गरेका छन् । उनका अनुसार अहिले देखिएको प्रतिष्पर्धा भीम रावल वा माधव नेपालको जस्तै असन्तुष्टि, अस्वीकारवाद र विभाजनतिर जाने छैन ।

पोखरेलले वर्तमान राजनीतिक अवस्था ‘अत्यन्त जटिल’ रहेको र यस्तो अवस्थामा एमालेलाई अनुभवी, स्थापित र संकट–व्यवस्थापनमा सक्षम नेतृत्व आवश्यक रहेको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई निरन्तरता दिनैपर्ने धारणा दोहोर्‍याएका छन् । १० औं विधान महाधिवेशनमा ओलीसम्बन्धी निर्णय कार्यकर्ताले लगभग सर्वसम्मत रूपमा अनुमोदन गरिसकेको स्मरण गर्दै उनले अहिले नेतृत्व परिवर्तनको कुरा ‘असामयिक’ भएको टिप्पणी गरेका छन् ।

उता पूर्व राष्ट्रपति विद्या भण्डारीको ‘ब्याकअप’ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिष्पर्धामा उत्रिन तयार रहेको चर्चा चुलिए पनि महासचिव पोखरेलले वर्तमान असामान्य परिस्थितिमा ईश्वर पोखरेल ‘विश्वसनीय विकल्प’ बन्न नसक्ने दावी गरे । ईश्वर पोखरेलले आफू उत्तराधिकारी होइन भन्ने संकेत पहिले नै दिएको भन्दै अहिलेको क्षणमा उनी प्रभावशाली चुनौतीकर्ता बन्न नसक्ने पोखरेल बताउँछन् ।

पोखरेलका अनुसार पार्टीभित्र शीर्ष तहमा ४०–५० जनासम्म नेतृत्व आकांक्षा देखिए पनि व्यवस्थापन कठिन हुँदैन । प्रतिष्पर्धा सहमति नबनेको अवस्थामा स्वाभाविक हो तर त्यसले असन्तुष्टि बढाउने, हार स्वीकार नगर्ने वा पार्टी–विरुद्ध जाने व्यवहारमा रूपान्तरण हुनु हुँदैन भन्ने उनको चेतावनी छ । भीम रावल र माधव नेपालको विगतको अभ्यासले पार्टीलाई क्षति पुर्‍याएको भन्दै उनले यस पटक कोही पनि नेताले त्यस्तो गल्ती नदोहोर्‍याउने विश्वास व्यक्त गरे ।

जेन–जेड आन्दोलनबारे बोल्दै पोखरेलले त्यसलाई राजनीतिक वैकल्पिक आन्दोलन नभई स्वार्थी शक्तिहरूले युवाको असन्तोषलाई दुरुपयोग गर्न खोजेको प्रकरण भने र भूराजनीतिक स्वार्थ सक्रिय भएको संकेत गरे । उनका अनुसार यस्तो संवेदनशील अवसरमा पार्टीभित्र स्थिर र अनुभवयुक्त नेतृत्व अपरिहार्य छ । चुनावको सम्भावनासम्बन्धी प्रश्नमा उनले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमै विचाराधीन रहेको, शान्ति–सुरक्षा कमजोर भएको र मतदाताले निर्भय वातावरण पाउन नसकेको कारण निकट भविष्यमै चुनाव ‘यथार्थवादी’ नदेखिँएको टिप्पणी गरे ।

संवैधानिक परीक्षण टुंगिएर राजनीतिक विश्वासको वातावरण बनेपछि मात्र निर्वाचनको मार्ग खुल्ने उनले बताएका छन् । महाधिवेशन नजिकिँदै जाँदा एमालेभित्र प्रतिष्पर्धा तीव्र देखिए पनि महासचिव पोखरेलले संस्थापन नेतृत्वलाई निरन्तरता दिनुपर्ने, प्रतिष्पर्धा निष्ठा र एकताको दायराभित्र सीमित रहनुपर्ने र पार्टीलाई अस्थिरताबाट जोगाउन अनुभवी नेतृत्व नै उचित विकल्प भएको पोखरेल बताउँछन् ।

विराटनगरलाई हराउँदै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम

काठमाडौँ । सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।

सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४ ओभर एक बलमा ७८ रनमा समेटियो । विराटनगरका लागि ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन ।

उनलाई अन्य ब्याटरले साथ दिन सकेनन् । साम हिजलेट ०, मार्टिन गुप्टिल २, नरेन भट्ट ०, बसिर अहमद १२, लोकेश बम ५, नारायण जोशी १, मार्चन्ट डि लिङ १५, कप्तान सन्दीप लामिछाने ३ र प्रतिश जिसी ३ रनमा आउट भए ।

बलिङमा सुदूरपश्चिमका हर्मित सिंह, अभिनास बोहरा र स्कट कुगेइलेन दुई-दुई तथा कप्तान दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले एक-एक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा विराटनगरविरुद्ध टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । विनोदले ५२ बलमा ३ चौका र २ छक्का प्रहार गरे । मुख्तार अहमद १०, शेल्डन ज्याकसन २०, आरिफ शेख २०, इशान पाण्डे १३, कप्तान दीपेन्द्रसिंह ऐरी ३, हर्मित सिंह १४ रनमा आउट भए । स्कट कुगेलेइन १ र मिलन बोहरा ५ रनमा अविजित रहे ।

बलिङमा विराटनगरका मार्चन्ट डि लिङ र प्रतिश जिसीले दुईदुई तथा सूर्य तामाङ र साम हिटलेटले एकएक विकेट लिए ।

सुदूरपश्चिमले लगातार दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो सिजनमा सुदूरपश्चिम फाइलनमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

सुदूरपश्चिमले अब उपाधिका लागि शनिवार खेल्नेछ । पराजित भएको विराटनरले दोस्रो क्वालिफायरमा काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबिचको विजेतासँग खेल्नेछ ।

जेनजी विद्रोह दमन गर्नेमाथि अन्तर्राष्ट्रिय रूपमा घेराबन्दी गर्छौं: गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी विद्रोहमाथि दमन गर्नेहरुलाई राज्य प्रणालीभित्रबाट मात्रै नभई अन्तर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्ने बताएका छन्।मंगलबार जेन–जी शहीदहरुको सम्झनामा काठमाडौंमा आयोजित दीप प्रज्वलन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले जेन–जी घाइते तथा शहीदका मागहरु पूरा गर्दै कारबाहीका विषयमा दृढतापूर्वक अघि बढ्ने बताए । सत्तामा बसेकाहरू कुशासनको अभियन्ता बनेकै कारण जेन–जी विद्रोह भएको तर्क गर्दै मन्त्री अर्यालले वर्तमान सरकार शहीदको सपनाअनुसार सुशासन प्रत्याभूत गर्न प्रतिबद्ध रहेको बताए ।

उनले मुलुकमा सुशासन कायम गर्न सरकार लागि परेको उल्लेख गर्दै केही कमजोरी देखिए औंल्याउन समेत आग्रह गरे । उनले जेन–जी विद्रोह र सरकारी दमनको विषयमा जाँचबुझ आयोगका साथै प्रहरी र मानव अधिकार आयोगले समेत अनुसन्धान गरिरहेको भन्दै ढिलो चाँडो कारबाहीको दायरामा ल्याइने दाबी गरे।

उनले भने, ‘सत्तामा बस्नेहरु कुशासनको अभियान्ता बनेको कारण जेनजी विद्रोह भएको हो । त्यसकारण शहीदको सपनाबमोजिम अब हामी सुशासनको अभियान्ता बन्नुपर्छ । अहिलेको सरकारमा बसेर हामी सुशासनको अभियान्ता बन्ने प्रयासमा रहेका छौं । यहाँहरुले पनि हाम्रा कमजोरीहरु देख्नुभयो भने औंल्याइदिनु होला । हामी त्यसमा सुधार गर्छौं ।’

सरकारले गरेका कतिपय कामको परिणाम आउन समय लाग्ने भन्दै उनले सरकार अझ व्यवस्थित रुपमा अघि बढ्ने बताए । भदौ २३ को विद्रोह दमन गर्नेलाई नेपालको राज्यप्रणालीबाट मात्रै नभएर नभएर अन्तर्राष्ट्रिय दबावबाट पनि कारबाहीको दायरामा ल्याउन काम गरिरहेको उनले बताए ।

‘नेपालको राज्य प्रणालीभित्रबाट पनि कारबाही गर्छौं  र जो दोषि छन् त्यस्ता तत्वहरुलाई अन्तर्राष्ट्रिय रुपबाट पनि हामी घेराबन्दी गर्छौं,’ मन्त्री अर्यालले भने, ‘त्यसैको लागि अहिले जाँचबुझ आयोग बनेको छ । राष्ट्रिय मानव अधिकार आयोगले पनि यसका लागि छुट्टै अनुसन्धान गरिरहेको छ । त्यसले पनि कारबाहीको सिफारिस गर्छ ।’

उनले नागरिक सरकार गठन भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई काम गर्ने वातावरण बनेको दाबी पनि गरे । पर्दा पछाडि बसेर नेताहरुलाई नचाउँदै जनतालाई दुःख दिने केही तत्वहरु कारबाहीको दायरामा ल्याइसकिएको उनको दाबी छ ।

उनले भने, ‘भ्रष्टाचारको मामलामा अख्तियारले हामी सरकारमा आइसकेपछि काम गर्ने वातावरण पाएको छ । कति वटा मुद्दा दर्ता गर्यौं यहाँहरुले यसमा धन्यावाद दिनुपर्छ । यो देशको नेताहरुलाई पनि नचाउने र पर्दा पछाडि बसेर नेताहरुलाई समेत दोहन गर्नसक्ने तत्वहरु पहिचान भइसकेका छन् । तीमध्ये केही त कारबाहीको दायरामा पनि गइसके । नेपाल प्रहरी र सिआईबीले समेत कतिपय मुद्दाहरुको अनुसन्धान गरिरहेको छ ।’

सञ्चारमन्त्री खरेलद्वारा एनपीएल अवलोकन

काठमाडौं।सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा खेल अवलोकन गरेका छन् । मन्त्री खरेलले आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुर पुगेर एनपीएलमा जारी खेल अवलोकन गरेका हुन् ।

एनपिएलअन्तर्गत आज पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गरिरहेका छन् । सुदूरपश्चिम अंक तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा छ । सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले सातमध्ये पाँच खेल जितेको थियो ।

सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो ।

आज जित्ने टोली सिधैँ फाइनलमा पुग्नेछ । पराजित टोली इलिमिनेटर खेल्ने मौका पाउनेछ ।

शान्ति पुरस्कार विजेता भेनेजुयलाका विपक्षी नेतृ मचाडोसँगको पत्रकार सम्मेलन स्थगित

ओस्लो ।  नोबेल शान्ति पुरस्कार विजेता भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोसँग मङ्गलबार हुने पत्रकार सम्मेलन ‘स्थगित’ भएको नोबेल इन्स्टिच्यूटले जनाएको छ ।

“सबै कुराले सुझाव दिन्छ हामी आज पत्रकार सम्मेलन आयोजना गर्नेछौँ,” इन्स्टिच्यूटका प्रवक्ता एरिक आसेमले एएफपीलाई भने ।

यो घोषणा भेनेजुएलाका अधिकारीहरूद्वारा ‘भगौडा’ घोषित हुने जोखिममा ओस्लोमा हुने भनिएको बुधबारको पुरस्कार समारोहमा मचाडोले व्यक्तिगत रूपमा उपस्थित भई पुरस्कार ग्रहण गर्ने वा नगर्ने भन्ने प्रश्नहरू बढेपछि यो घोषणा भएको हो ।

मचाडोको परिवार पहिले नै ओस्लोमा छ ।

समारोहको पूर्वसन्ध्यामा नोबेल पुरस्कार विजेताले परम्परागत रूपमा आयोजना गर्ने यो पत्रकार सम्मेलनमा ५८ वर्षीय नोबेल शान्ति पुरस्कार विजेतो ११ महिनापछि पहिलो पटक सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

राष्ट्रपति निकोलस मदुरोले तेस्रो कार्यकालका लागि राष्ट्रपति पदको शपथ ग्रहण गरेको विरोधमा जनवरी ९ मा काराकासमा भएको प्रदर्शनमा उनी अन्तिम पटक सार्वजनिक रूपमा देखिएका थिए ।

मचाडोले सन् २०२४ को जुलाईमा हुने राष्ट्रपति चुनावमा आफूलाई उम्मेदवार बन्न प्रतिबन्ध लगाएको आरोप लगाएका छन् ।

सन् २०१३ देखि राष्ट्रपति रहेका मदुरोको कडा शासनलाई चुनौती दिँदै भेनेजुएलामा प्रजातन्त्र ल्याउने प्रयासका लागि मचाडोलाई अक्टोबर १० मा नोबेल शान्ति पुरस्कार प्रदान गरिने घोषणा गरिएको थियो ।

विनोदको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार जारी पहिलो क्वालिफायर खेलमा ओपनर विनोद भण्डारीको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सले १५२ रनको लक्ष्य पाएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको हो ।

सुदूरपश्चिमका ओपनर विनोद ५२ बलमा ३ चौका र २ छक्काको सहयोगमा ६३ रन प्रहार गरे । उनी १८ ओभेरको अन्तिम बल सामना गर्ने क्रममा विराटनगरका प्रतिस जीसीको बलमा साम हिजलेटमार्फत् क्याच आउट भएका हुन् । विनोदको ब्याटिङले नै सुदूरपश्चिमको इनिङ उकासिएको हो ।

सुदूरपश्चिबाट दोस्रो सर्वाधिक २० रन बनाउने शेल्डन ज्याक्सन र आरिफ शेख हुन् । डेब्यू खेलमा भरोस गरिएका ज्याक्सनले ११ बलमा २ चौका र १ छक्काको सहयोगमा उक्त रन जोडेका हुन् ।

थाइल्यान्ड–कम्बोडिया सीमामा झडप, सात जनाको मृत्यु

नोमपेन्ह / बैङ्कक ।  दुई देश बिचको सीमामा झडप र हिंसा बढ्दै जाँदा थाईल्यान्डले कम्बोडियाको क्षेत्रमा प्रहार गरे पछि मङ्गलबार सात जना सर्वसाधारणको मृत्यु हुनुका साथै कम्तिमा २० जना घाइते भएको जनाइएको छ ।

कम्बोडियाको संघिय रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले कम्बोडिया भित्रका क्षेत्रहरूमा गोलाबारी भएको जनाउदै घटनाको पुष्टि गरेका छन् ।

उनले आक्रमणहरूलाई “अमानवीय र क्रूर“ भन्दै आक्रमणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको निर्देशनमा अक्टोबर–२६ मा दुवै देशका प्रधानमन्त्रीहरूले हस्ताक्षर गरेको युद्धविराम सम्झौता र संयुक्त घोषणापत्रको विरुद्ध भएको बताएका छन् ।

बैङ्ककमा, थाई सेनाले कम्बोडियासँगको सीमा झडपमा दुई सैनिकको मृत्यु भएको घोषणा गरेको छ, यो सँगै आइतबार लडाइँ पुनः सुरु भए देखि मृत्यु हुने थाई सेनाको सङ्ख्या तीन पुगेको जनाइएको छ ।

सेनाले विज्ञप्ति जारी गर्दै एकजना सैनिकको डिसेम्बर–८ मा र दुई जना डिसेम्बर–९ मा मृत्यु भएको उल्लेख गर्दै थाइल्यान्डले थाई क्षेत्रबाट कम्बोडियन सेनालाई निष्कासन गर्न कदम चाल्ने जनाएको छ ।

थाइल्यान्ड – कम्बोडियाको ८१७ किलोमिटरको साझा भूमि सीमामा रहेका धेरै क्षेत्रहरूमा लामो समय देखि विवाद छ, जुन विवाद एक शताब्दी भन्दा पुरानो हो । जसका कारण सशस्त्र झडपहरू बिच–बिचमा भइरहेको जनाइएको छ भने सबैभन्दा गम्भीर झडप सन् २०११ मा एक हप्ता लामो बमबारी भएको थियो ।

गत मे महिनामा भएको झडपमा एक कम्बोडियन सैनिकको मृत्यु भए पछि तनाव फेरि बढेको थियो । घटना पछि दुवै पक्षले आफ्नो सीमा तैनातीलाई उल्लेखनीय रूपमा बलियो बनाएको र कूटनीतिक प्रयासहरू असफल भए पछि हाल स्थिति सशस्त्र झडपमा परिणत भएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति ऐतिहासिक ‘ब्लू हाउस’मा फर्कने प्रक्रिया सुरु

सियोल ।  दक्षिण कोरियाका राष्ट्रपति ली जाई म्युङ र उनको टोलीले सियोलस्थित ऐतिहासिक ब्लू हाउसबाट पुनः राष्ट्रपतिको दैनिक कामकारबाही सञ्चालन गर्ने भएको छ । यसका लागि सरकारले राष्ट्रपतिको कार्यालयसँग समन्वय गरी प्रक्रिया सुरु गरेको छ ।

“उनका पूर्ववर्ती युन सुक योलले भवनलाई ‘साम्राज्यवादी’ अवशेष भएको भन्दै कार्यालयलाई अन्यत्र सारी त्यहीँबाट राष्ट्रपतिको रूपमा सेवामा सरिक हुँदै आएको थिए,” एक अधिकारीले मङ्गलबार बताए ।

कोरियन भाषामा च्योङ वा डे भनिने ब्लू हाउसको छतमा करिब एक लाख ५० हजार हातले रङ्गिएको नीलो टाइलहरूले सजिएको छ र यो दक्षिण कोरियाली राष्ट्रपतिसँग लामो समयदेखि सम्बन्धित छ ।

पहिले जापानको उपनिवेशकालीन शक्तिका प्रतिनिधिहरूले यसलाई ओगटेको थियो र यो स्थलले सात दशकसम्म दक्षिण कोरियाका राष्ट्रप्रमुखलाई सेवा गर्ने अवसर दिएको थियो ।

पूर्व राष्ट्रपति युनले यसलाई आफ्नो घर र कार्यालयको रूपमा प्रयोग नगर्ने निर्णय गर्दै यसलाई सार्वजनिक सङ्ग्राहलयका रूपमा खुला गरी सट्टामा अलग स्थानमा सरेको थिए ।

अप्रिलमा असफल र छोटो ‘मार्शल ल’ लागू गरेपछि पदबाट हटाइएको थियो । त्यसको केही महिनापछि दक्षिण कोरियाली मतदाताहरूले नियमित समयअगावै गरिएको निर्वाचनमा राष्ट्रपतिका रूपमा लीलाई निर्वाचित गरेका थिए ।

लीले निर्वाचित भएमा राष्ट्रपति कार्यालय र आवास दुवै ब्लू हाउसमा फर्काउने प्रतिज्ञा गरेको थिए ।

यो प्रक्रिया सोमबार सुरु भएको थियो र क्रिसमससम्म पूरा गरिने उहाँको कार्यालयले एएफपीलाई जनाएको छ ।

सुरक्षा कारणले राष्ट्रपति आफ्नो नयाँ आवासमा आधिकारिक रूपमा सर्न केही समय लाग्ने स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसअघिका शासकहरूलाई परेको दुर्भाग्य, हत्या, महाभियोग र जेल सजायले पनि योगदान पु¥याएको ब्लू हाउस लामो समयदेखि सार्वजनिक चासोको विषय रहँदै आएको छ ।

विराटनगरविरुद्ध सुदूरपश्चिमका ओपनर विनोदको अर्धशतक

काठमाडौं  । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार जारी पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारीले विराटनगर किङ्ग्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको सुदूरपश्चिमका विनोदले ४४ बलमा ३ चौका र १ छक्काको सहयोगमा अर्धतशक पूरा गरेका हुन् । जारी सिजनमा उनको यो दोस्रो अर्धशतक हो ।

लिग चरणको खेलमा उनले लुम्बिनी लान्यसविरुद्ध अविजीत ६९ र बनाएका थिए । यही खेलमा उनले सिजनमा व्यक्तिगत पहिलो अर्धशतक बनाएका हुन् । खेल १५ ओरभमा पुग्दा सुदूरपश्चिम ४ विकेटको क्षतिमा १०४ रनको अवस्थामा छ ।

तस्बिरमा हेर्नुहोस्, विराटनगर र सुदूरपश्चिमको प्रतिस्पर्धा

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार जारी पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा विराटनगरले टस जितेको छ ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् । लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै दुई टोली क्वालिफायरमा पुगेका हुन् ।

अङ्क तालिकामा सुदूरपश्चिम शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको हो । विराटनगर चाहिँ दोस्रो स्थान रहेर क्वालिफायर पुगेको हो ।

लिग चरणमा ७ खेल खेलेको सुदूरपश्चिमले ६ मा जित हासिल गर्दै १२ अङ्क प्राप्त गरेको थियो । सुदूरपश्चिमले लिग चरणमा सबै टोलीसँग जित हासिले गरेपनि विराटनगरसँग पराजित भएको थियो ।

अर्कोतर्फ विराटनगरले लिग चरणमा ७ मध्ये ५ मा जित र दुईमा हार व्यहोरेको थियो । विराटनगरले लिग चरणमा चितवन राइनोज र लुम्बिनी लायन्ससँग पराजय व्यहोरेको थियो ।

सन् २०२५ रेकर्डमा दोस्रो सबैभन्दा तातो वर्ष बन्ने बाटोमाः अध्ययन

पेरिस ।  सन् २०२५ मा पृथ्वी दोस्रो सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड हुने देखिएको युरोपको वैश्विक तापमान अनुगमन निकायले मङ्गलबार जनाएको छ ।

यो बर्षको तापमान सन् २०२३ सँग बराबरी हुने बाटोमा रहेको उक्त संस्थाले जनाएको हो । सन् २०२४ मा विश्वको तापक्रम पृथ्वीको तपक्रम रेकर्ड गर्न थालिएपछि पहिलो पटक उच्च विन्दुमा पुगेको थियो ।

‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस’ को तथ्याङ्कले विश्वव्यापी तापक्रम पूर्व–औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसले बढ्ने बाटोमा रहेको कुरा पुनः पुष्टि गर्दछ । यो सीमा सन् २०१५ को पेरिस सम्झौतामा सुरक्षित मानिएको थियो ।

सेवाको मासिक अपडेट अनुसार, जनवरी र नोभेम्बरको बीचमा औसत तापक्रम १.४८ डिग्री सेल्सियसले बढेका र रेकर्डमा दोस्रो सबैभन्दा तातो वर्ष बनेको छ ।

“सन् २०२३/२५ को तीन–वर्षे औसत तापक्रम पहिलो पटक १.५ डिग्री सेल्सियसभन्दा बढी हुने बाटोमा छ,’ कोपर्निकसकी जलवायु रणनीतिक प्रमुख सामन्था बर्गसले एक विज्ञप्ति जारी गरी जानकारी गरा.एका छन् ।

“यी उपलब्धिहरू अमूर्त छैनन् तर तिनीहरूले जलवायु परिवर्तनको तीव्र गतिलाई प्रतिबिम्बित गर्छन् । भविष्यमा बढ्दो तापक्रमलाई कम गर्ने एकमात्र तरिका हरितगृह ग्यास उत्सर्जनलाई द्रुत रूपमा घटाउनु हो,” बर्गसले भनिन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वले आगामी केही वर्षमा ग्लोबल वार्मिङलाई १.५ डिग्री सेल्सियसभन्दा तल राख्न नसक्ने चेतावनी अक्टोबरमा दिएका थिए ।

कोपर्निकसका अनुसार, गत महिना औद्योगिक पूर्वको स्तरभन्दा १.५४ डिग्री सेल्सियसले बढी रहेर रेकर्डमा तेस्रो सबैभन्दा तातो नोभेम्बर बनेको थियो । गत महिना औसत सतहको हावाको तापक्रम १४.०२ डिग्री सेल्सियस पुगेको थियो ।

यस्तो क्रमिक वृद्धि सानो देखिन सक्छ तर यसले पहिले नै जलवायुलाई अस्थिर बनाइरहेको छ र आँधी, बाढी तथा अन्य विपद्हरूलाई अझ तीव्र र बारम्बार बनाइरहेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

अनुगमनकर्ताले भनेको छ, “यो महिना दक्षिणपूर्वी एसियामा उष्णकटिबन्धीय चक्रवातसहितका धेरै चरम मौसमी घटनाहरूका लागि चिनिएको थियो । यसले व्यापक, विनाशकारी बाढी र जनधनको क्षति गराएको थियो ।”

– जीवाश्म इन्धन नियन्त्रणको लडाईँ –

नोभेम्बरमा फिलिपिन्स लगातार आँधीबेहरीको चपेटामा प¥यो जसमा करिब २६० जनाको मृत्यु भयो भने इन्डोनेसिया, मलेसिया र थाइल्याण्डमा पनि ठूलो बाढी आएको थियो ।

सेप्टेम्बरदेखि नोभेम्बरसम्म, उत्तरी गोलार्धको शरद ऋतुको लागि विश्वव्यापी औसत तापक्रम पनि सन् २०२३ र सन् २०२४ पछि रेकर्डमा तेस्रो सबैभन्दा उच्च रहेको थियो ।

“समग्रमा विश्वभर र खासगरी उत्तरी क्यानडा, आर्कटिक महासागरमाथि र अन्टार्कटिकाभरि तापक्रम सामान्यतया औसतभन्दा माथि देखिएको मौसम अनुगमनकारी उक्त संस्थाले जनाएको छ । यद्यपि, उत्तरपूर्वी रुसमा उल्लेखनीय चिसोको विसङ्गति देखिएको थियो ।

सन् १९४० तथ्याङ्क रेकर्ड गर्न थालेको कोपर्निकसले जमिन र समुद्र दुवैमा अर्बौं भू–उपग्रह र मौसमका मापनहरू प्रयोग गरेर तथ्याङ्कको रेकर्ड लिन्छ ।

खासगरी औद्योगिक क्रान्तिदेखि ठूलो मात्रामा जलाइएको जीवाश्म इन्धनबाट निस्कने ग्यास र मानवजातिले उत्सर्जन गरेका पृथ्वीलाई तताउने ग्यासहरूले विश्वव्यापी तापक्रमलाई अझ बढाएको छ ।

सन् २०२३ मा दुबईमा भएको संयुक्त राष्ट्रसङ्घको जलवायु शिखर सम्मेलन (कोप–२८)मा राष्ट्रहरूले जीवाश्म इन्धनबाट रूपान्तरण गर्न सहमति जनाएका थिए तर त्यसयता यी महत्वाकाङ्क्षाहरू रोकिएका छन् ।

ब्राजिलको बेलेममा भएको कोप–३० सम्मेलन गत महिना समाप्त भयो, जसमा जीवाश्म इन्धन उत्पादन गर्ने देशहरूको आपत्तिपछि तेल, ग्यास र कोइलालाई क्रमशः हटाउने नयाँ, स्पष्ट आह्वानबाट बच्ने सम्झौता भएको थियो ।

पूर्वमन्त्री खड्काको घरमा तोडफोड–आगजनी : तीन जनामाथि साढे सात करोडको मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको बुढानीलकण्ठस्थित निवासमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी प्रकरणमा प्रहरीले तीन जनाविरुद्ध साढे सात करोड रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको छ । भदौ २३ र २४ गते भएको आन्दोलनको अव्यवस्थित भीडको क्रममा घरमा व्यापक क्षति पुर्‍याइएको भन्दै प्रहरी वृत्त महाराजगञ्जले सुर्खेतका ४४ वर्षीय रणबहादुर सिंह, बुढानीलकण्ठका ३१ वर्षीय सुसम श्रेष्ठ र काभ्रेकी ३९ वर्षीय रेखा सुनार (सानी सुनार) लाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो ।

प्रहरीले संकलन गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध आपराधिक उपद्रव तथा डाँकासम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थिको इजलासले रणबहादुर र सुसमलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश जारी गरेको छ भने रेखालाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न अनुमति दिएको छ । पूर्वमन्त्री खड्काका भाइ जीवन खड्काले दिएको जाहेरीअनुसार बुढानीलकण्ठ–१ को कित्ता नम्बर ५४ मा रहेको साढे दुई तले घरमा क्षति पुर्याइएकै साथै बा २४ च ५०७०, बा.प्र.–०१–०२९ च ३३०४ नम्बरका निजी गाडी तथा बा १ झ ८८८१ र बा १ झ ४९२८ नम्बरका सरकारी गाडी जलाइएका थिए।

यसबाहेक घरभित्रबाट ६ तोलाको सुनको रानिहार, सुनका चुरा, डायमण्ड र मोती हारका सेट, ६ तोलाका ६ थान सुनका औंठी, मुगाको टप र औंठीको सेट, सुनको तिलहरी, डायमण्डका ४ थान टप, बालबालिकाका ५ तोला बराबरका सिक्री, नगद ५ लाख, ७ सय अमेरिकी डलर, ल्यापटप, कम्प्युटर, ब्यागलगायत विभिन्न बहुमूल्य सामग्री चोरी भएको दाबी गरिएको छ । तीनै जनामध्ये रणबहादुर सिंह ११ वर्ष सेनामा काम गरेर २०६८ सालमा अवकाश लिएपछि बुढानीलकण्ठमै बस्दै आएका थिए । सुसम श्रेयठ त्यही क्षेत्रमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका व्यक्ति हुन् भने रेखा सुनार दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएकी थिइन् । आरोपितहरूविरुद्ध दायर साढे सात करोड रुपैयाँ बराबरको बिगो मागदाबीसहितको मुद्दा अदालतमा चलिरहेको छ र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

 

प्रतिनिधिसभा निर्वाचन : गगन थापाको नाम रोल्पाबाट सिफारिस

काठमाडौं । आउँदो २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको नाम रोल्पाबाट सिफारिस भएको छ । एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला रोल्पाको आज बसेको जिल्ला कार्यसमिति बैठकले थापाको नाम सिफारिस गरेको हो ।

लुम्बिनी प्रदेश कार्यसमिति सभापति अमरसिंह पुनका स्वकीय सचिव तथा महाधिवेशन प्रतिनिधि अनुपम जिसीले दिएको जानकारी अनुसार थापासहित लुम्बिनी प्रदेश सभापति पुन, महासमिति सदस्य मनोजमणि आचार्य, व्यवसायी डा. मन्दिप सुवेदी र नेता ज्ञानबहादुर ओलीको नाम सिफारिस गरिएको छ । यत‚ प्रदेश सभापति पुनले पनि आफूले चुनाव नलड्ने र गगनलाई चुनाव लडाउने जानकारी दिए । ‘म चुनाव लड्दिनँ, उहाँलाई लडाउने हो’, उनले भने ।

 

कैलाली–५ बाट आरजु राणाको नाम पहिलो नम्बरमा सिफारिस

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्न सिफारिस भएकी छन् । उनको नाम कैलाली क्षेत्र नम्बर–५ बाट पहिलो नम्बरमा सिफारिस भएको हो । मंगलबार बसेको क्षेत्रीय समिति बैठकले केन्द्रीय सदस्य राणाको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि जिल्ला कार्यसमिति समक्ष सिफारिस गरेको हो ।

उनीसँगै निवर्तमान सांसद डिल्लीराज पन्त, सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री नरनारायण शाह ‘मनु’ र केन्द्रीय सदस्य नृपबहादुर ओडको नाम पनि सिफारिस भएको छ । पन्त गत निर्वाचनमा कैलाली–५ बाट नेकपा एमालेका नारदमुनी रानालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

अमेरिकाको नयाँ सुरक्षा रणनीतिले द्वन्द्व अन्त्यका लागि आधार तयार पारेको छ: मस्को

मस्को ।  रूसी विदेश मन्त्रालयले हालै अद्यावधिक गरिएको नयाँ अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिले द्वन्द्व अन्त्येका लागि दुई पक्ष बिच साझा आधार प्रस्तुत गरेको बताएको छ ।

पत्रकारसँगको साक्षाकारमा बोल्दै विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले रणनीतिले अमेरिकी हितको दृढतापूर्वक रक्षा गर्दै यसले वार्ता र आपसी समझदारीको खोजीको लागि पनि पर्याप्त आधार तय गरेको जनाएका छन् ।

रणनीतिले युक्रेनी सङ्कटसँग सम्बन्धित धेरै प्रावधानहरूले द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि आधारका रूपमा काम गर्न सक्नेसमेत उनले बताएका छन् ।

यस अघि, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिमा भएका संशोधनहरू धेरै हदसम्म मस्कोको दृष्टिकोणसँग मेल खाएको उल्लेख गर्दै उसले युक्रेनमा द्वन्द्व अन्त्य गर्ने सम्भावना बढाएको बताएका थिए ।

 

टीओबीका तेन्जिङलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले टिबेटियन ओरिजनल ब्लड (टीओबी) का तेन्जिङ दावा लामालाई ५ लाख २० हजारमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले लामालाई मंगलबार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले आइतबार उनीविरुद्ध लिखत कीर्ते र लागुऔषधसम्बन्धी कसुरमा अभियोग दायर गरेको थियो । लिखत कीर्तेमा ५ लाख रुपैयाँ र लागु औषधको मुद्दामा २० हजार रुपैयाँ धरौटी माग भएको अदालतका सूचना अधिकारी दिपक श्रेष्ठले जानकारी दिए । प्रहरीले टिओबी समूहका मुख्य व्यक्ति तेन्जिङ दावालाई गत २६ असोजमा पक्राउ गरेको थियो ।

पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई भेट्न निवासमै पुगिन् प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की पितृशोकमा रहेका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई भेट्न उनको निवासमै पुगेकी छिन् । उनी मंगलबार दिउँसो श्रेष्ठलाई भेट्न कुपण्डोलस्थित निवास पुगेकी हुन् । श्रेष्ठका बुवा पूर्व न्यायाधीश कुलबहादुर श्रेष्ठको यही १६ मंसिरमा ९५ वर्षको उमेरमा निधन भएको थियो । नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो । मंगलबार दिउँसो प्रधानमन्त्री कार्की उनको निवासमा पुगेर भेट गरेको स्रोतले जानकारी दिएको छ ।

सो क्रममा पूर्व प्रधान्यायाधीश श्रेष्ठसँग केहीबेर सामान्य राजनीतिक कुराकानी पनि भएको स्रोतले बताएको छ । श्रेष्ठले प्रधानमन्त्री कार्कीसमक्ष पछिल्लो समय आफ्नो नाम जोडेर विभिन्न समाचारहरू आइरहेकोतर्फ इंगित गर्दै केही कुरा सुनाएका थिए । श्रेष्ठले आफ्नो नाम जोडेर ‘कसैको गुजारा चल्छ भने लेख्नुस्’ भन्ने गरेको प्रधानमन्त्री समक्ष सुनाएका थिए । त्यस्तै, जसरी पनि निर्वाचन सम्पन्न गराएर निस्कन पनि प्रधानमन्त्री कार्कीलाई श्रेष्ठले आग्रह गरेको बताइएको छ ।

राप्रपा सांसद कञ्चन विच्छालाई पदबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी मधेश प्रदेशसभा सदस्य कञ्चन विच्छालाई सांसद पदबाट पदमुक्त गरेको निर्णय कार्यान्वयन नगर्न-नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले मंगलबार उक्त अन्तरिम आदेश जारी गरेको हो।

‘निवेदक बहालवाला प्रदेशसभा सदस्य रहेको अवस्थामा निजलाई तोकिएको कार्य गर्न रोक लगाँउदा अपुरणीय क्षति पुग्न जाने अवस्थाको विद्यमानता देखिँदा सुविधा र सन्तुलनको दृष्टिकोण समेतबाट प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म २०८२ मंसिर १९ गतेको विपक्षी मधेश प्रदेशसभाको सूचना एवं राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जारी २०८२ मंसिर १२ को चलानी नम्बर १४३ को पत्र समेत कार्यान्वयन नगर्नू-नगराउनू यथास्थितिमा राख्नू र निवेदकलाई प्रदेशसभा सदस्यको हैसियतले नियमित कार्य गर्नबाट वञ्चित नगर्नू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ ।

नेपालको संविधानको धारा १८० मा प्रदेशसभा सदस्यको स्थान रिक्त हुने सम्बन्धी संवैधानिक व्यवस्थातर्फ अवलोकन गर्दा खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान भएमा प्रदेशसभा सदस्यको पद रिक्त हुने प्रावधान अन्तर्गत निवेदकबाट उक्त संवैधानिक प्रावधान विपरीत कार्य गरेको भन्ने नदेखिएको आदेशमा उल्लेख छ ।

राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ बमोजिम निवेदकले दल त्याग गरेको अवस्था नदेखिएको र राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान, २०४८ (संशोधनसहित २०७८) को दफा ३० (ड) बमोजिम उनलाई गरिएको अनुशासनको कारबाही र उनी आवद्ध रहेको दलले निजलाई दलबाट निष्काशन गरेको कार्य कानून अनुकूल रहे-नरहेको सम्बन्धमा अन्तिम निर्णय हुँदाका बखत व्याख्या हुने प्रकृतिको देखिएकाले अन्तरिम आदेश जारी गरिएको आदेशमा उल्लेख छ । पार्टीको निर्णय विपरीत विच्छा मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वको सरकारमा मन्त्री बनेपछि राप्रपाले अनुशासनको कारबाही गर्दै पदमुक्त गरेको भन्दै प्रदेशसभा सचिवालयलाई पत्राचार गरेपछि उनलाई प्रदेशसभाले सांसद पदबाट पदमुक्त गरेको थियो ।

 

 

 

 

 

 

 

 

राजासहितको नवीन सहमति भएन भने अर्को विद्रोह व्यहोर्न तयार हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकलाई संकटबाट जोगाउन राजा, राजनीतिक दल र जेनजी पुस्ताबीच नयाँ समझदारी हुनुपर्ने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचनअघि नै राजा, राजनीतिक दल र जेनसी पुस्ताबीच सर्वपक्षीय सम्मेलन गरेर मुलुकलाई निकास दिने कामको नेतृत्व गर्न समेत आग्रह गरे ।

उनले यथास्थितिमा निर्वाचन भए मुलुकमा झनै विद्रोहको आगो बल्ने चेतावनी समेत दिए । मुलुक भूराजनीतिको गम्भिर चक्रव्यूहमा फसेको जिकिर गर्दै अध्यक्ष लिङदेनले यस्तो अवस्थामा निर्वाचन भए देशले झनै ठूलो ध्वंस व्यहोर्नुपर्ने अवस्था आउने बताए । उनले भने, ‘म फेरि पनि भन्छु–यो समस्याको समाधान होइन । फागुन २१ गते अथवा यही व्यवस्था अन्तर्गत निर्वाचन गर्नु भनेको समस्यालाई अलि परतिर धकेल्ने कुरा मात्र हो । यो समस्याको समाधान होइन । यो भन्दा ठूलो ध्वस देशले व्यहोर्नुपर्ने हुनसक्छ । आज हामीले आवरणमा देखिएको मुद्दा र समस्या मात्रै होइन, आज जनताले महसुस गर्नेगरी देशको राज्य शक्तिको अवस्था के छ । हामीले बारम्बार भन्दै आईरहेका छाैं–नेपाली जनताको निर्णायकत्व नेपाली जनताको हातमा हुन पर्दछ ।’

उनले भने, ‘नेपाल भूराजनीतिको चक्रव्यूहमा फस्ने खतरा छ । त्यसबाट बच्न राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेण्डाअनुसार अघि बढ्नु पर्दछ भनेर हामीले भन्दै आएका थियौ । अहिले प्रमाणित भयो, थाहा भयो कि भूराजनीतिको चक्रव्युहमा कुन ढंगले फसेको रहेछ ? अहिले नेपाल भूराजनीतिको गम्भिर चक्रव्यूहमा फसेको छ । त्यसकारण यो सबैबाट देशलाई निकास दिनका लागि चुनाव भन्दा अगाडि नै राजा, राजनीतिक दल र अहिले आन्दोलनले स्थापित गरेको शक्ति जेनजी नयाँ समझदारी कायम गरेर मात्रै अगाडि जानुपर्दछ । चुनावअघि नै यो नविन समझदारी गरेर देशलाई निकास दिनुपर्दछ।’

अध्यक्ष लिङदेनले भने, ‘राजा भनेको राष्ट्रिय एकताको प्रतिक हो । राजनीतिक दल भनेको लोकतन्त्र प्रजातन्त्रसँग सम्वद्ध र जेनजी पुस्ता भनेको हाम्रो भविष्य । यो तीन वटा शक्तिको समझदारीबाट देशलाई निकास दिनुपर्छ । त्यसैले म वर्तमान प्रधानमन्त्रीलाई यहीबाट आग्रह गर्न चाहन्छु–तपाई यति ठूलो रक्तपातपछि प्रधानमन्त्री बन्नु भएको छ । तपाई यो मध्यावधि चुनाव गर्नका लागि मात्रै प्रधानमन्त्री बन्नु भएको होइन । त्यसकारण राजा, राजनीतिक दल, जेनजी पुस्ताको सर्वपक्षीय सम्मेलनको आयोजना गर्नुस् । देशलाई निकास दिने कामको नेतृत्व गर्नुहोस् ।’ अध्यक्ष लिङदेनले राजा मुलुकको राष्ट्रिय एकताको प्रतिक भएकाले त्यसको अनिवार्य आवश्यकता मुलुकलाई भएको पनि दोहो¥याए ।

 

 

 

 

 

 

खानेपानी कार्यालय दाङका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख भोलाप्रसाद थापासहित ६ जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । कार्यालयले आह्वान गरेको ठेक्कामा निर्माण कम्पनीसँगको मिलेमतोमा राज्यलाई हानिनोक्सानी पुर्‍याएको भन्दै उनीहरूविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

आयोगले तत्कालीन कार्यालय प्रमुख थापा, तत्कालीन इन्जिनियर बसन्त कुमार दुलाल, तत्कालीन अधिकृत छैटौं माधव प्रसाद तिमिल्सेना, तत्कालीन सबइन्जिनियर नुतन आचार्य र तत्कालीन लेखापाल मनोज विष्टलाई प्रतिवादी बनाएको छ । त्यस्तै जय काली ड्रिलिङ्ग्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि र त्यसका प्रबन्ध निर्देशक शेखर शर्मालाई पनि आयोगले प्रतिवादी बनाएर मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । उनीहरूलाई ११ लाख ११ हजार ८४४ रूपैयाँ २९ पैसा जनही बिगो कायम गरिएको छ ।

उषाकिरण भन्छिन्–पार्टीभित्र चार वर्षमा ६ मिनेट मात्रै बोल्न पाएँ

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले आफूले चार वर्षको अवधिमा ६ मिनेट मात्र बोल्न पाएको बताएकी छन् । नेकपा एमालेको ११औं महाधिवेशनका विषयमा मंगलबार (मंसिर २३) काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले लामो समयदेखि लोकतान्त्रिक विधि र पद्धतिलाई अनुशरण गर्दै आएको पार्टीले आन्दोलनको संस्कार र संस्कृतिको खिल्ली उडाएको टिप्पणी गरिन्।

आफू कारबाहीमा समेत परेको स्मरण गर्दै उनले भनिन्, ‘म विगत चार वर्ष केन्द्रीय सदस्य हुँदा मैलै बोल्न पाएको समय जम्मा ६ मिनेट हो । त्यो पनि दुईचोटि केन्द्रीय कमिटी बैठकमा । हामीले ल्याएको गणतन्त्र त्यो खालको होइन कि, चार वर्षको अवधिमा जम्मा ६ मिनेट बोल्न पाउने ? पार्टीभित्र बोल्ने ठाउँ कहाँ छ ? निश्चित नेताले मनपरी बोल्ने ठाउँका रूपमा अभ्यास गरिँदै आइयो ।’ पार्टी अध्यक्ष प्रधानमन्त्रीको कुर्सीमा बसेर जनतालाई ललकार्ने काम भएको उनको भनाइ छ । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै भनिन्, ‘उहाँलाई जसले चुनौती दिन्छ जस्तो लाग्छ, जसले थोरै प्रश्न गर्छ त्यसको कल्याण भयो ।’

विद्या भण्डारीलाई अपशब्द प्रयोग गर्दै ओलीले समग्र महिलाको अपमान गर्नुभयो : शाक्य

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाले अध्यक्ष केपी ओलीले महिलाहरुलाई सधैं अपमान गरेको आरोप लगाएकी छन् । एमालेको ११ औं महाधिवेशन सन्दर्भमा मंगलवार आयोजित अन्तर संवाद कार्यक्रममा उनले यस्तो आरोप लगाएकी हुन् । एमाले अध्यक्ष ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई धामीझाँक्री भनेर अपमान गरेको बताइन् ।

गणतन्त्र नेपालको प्रधानमन्त्री भईसकेको व्यक्तिले पूर्व राष्ट्रपतिलाई पटक–पटक अपमानित शब्दहरु प्रयोग गर्ने गरेको उनको आरोप छ । उनले कुनै पनि नेतृत्वलाई महिलाहरुको अपमान गर्न नसुहाउने भए पनि केपी ओलीलाई भने सुहाउने भन्दै व्यङ्ग्य पनि गरिन् । ओलीमा महिलालाई हेर्ने सकरात्मक सोच र दृष्टिकोण नै नभएको उनको दाबी छ । उनले महिलाको अपमान गर्नेको विरुद्ध सशक्त आवाज उठाउनु पर्ने बताइन् ।

महिलालाई अपमान गर्ने, अवमूल्यन गर्ने नेतृत्व आजको आवश्यकता नभएको उनको भनाई छ । अध्यक्ष ओलीले सञ्चार माध्यममा पूर्व राष्ट्रपति भण्डारी चालेका कदमहरुमा व्यंग्य भावसहित आफूसँग सल्लाह नै नगरिकन परैदेखि धामीले जस्तो घुमरौं लाएर झल्र्याङ्–झल्र्याङ् गरेर मुजुरका प्वाँख–स्वाँख लाएर ढ्याङढ्याङ पार्दै ‘म राष्ट्रपतिबाट आएँ, ठाउँ छोड्, ठाउँ छोड्, म अध्यक्ष हुन्छु, ठाउँ छोड्’ भन्दै आउन मिल्छ ? भन्दै प्रश्न उठाएकी थिइन् । सोही कुरालाई उपाध्यक्ष शाक्यले आपत्ति जनाएकी हुन् ।

उनले भनिन्, ‘एउटा पूर्व राष्ट्रपति, परमाधिपति पनि भन्छौँ, देशको संरक्षक पनि भन्छौँ, संविधानको संरक्षक पनि भन्छौँ । उहाँलाई धामीझाँक्री भनेको के हो ? यस्तो अपमान गर्न पाइन्छ । सामान्य महिलालाई त गर्न पाइँदैन भने पूर्व राष्ट्रपति भईसकेकोलाई यो शब्दले अपमान गर्ने हद भनेको यो नेतृत्वलाई सुहाउँदैन । यो नेतृत्वले गर्नै हुँदैन । तर गर्न हुन्छ, कसले गर्न हुन्छ ? केपी ओलीले गर्न हुन्छ । किनभने उहाँमा सोच नै छैन । महिलाप्रति हेर्ने दृष्टिकोण नै छैन । महिलालाई अपमान गरेको गर्‍यै छ ।’

उनले भनिन्, ‘आधा भन्दा बढी जनसंख्याको हिस्सा महिलाले ओगटिरहेको अवस्थामा, महिला हिंसा विरुद्धको यत्रो १६ दिने अभियान मात्रै होईन, निरन्तर आवाज उठिरहको बेलामा यो खालको शब्द प्रयोग गर्ने भनेको सबै महिलाहरुको अपमान हो । यसको विरुद्ध सशक्त आवाज उठ्नु पर्छ। यस्तो नेतृत्व अवको आवश्यकता होइन । महिलालाई अपमान गर्ने नेतृत्व आजको आवश्यकता होइन । महिलालाई अवमूल्यन गर्ने नेतृत्व आजको आवश्यकता होइन । त्यसो भएको हुनाले यो ईस्यू चाहीँ जल्दोबल्दो रुपमा उठाउनु पर्छ, उठ्नु पर्छ ।’ उनले अध्यक्ष ओली कहिल्यै नसच्चिने दाबी गरिन्। उनले ओलीको नेतृत्वमा नै अब पनि एमाले जाने हो भने एमाले र देश दुवै कमजोर हुने बताइन् । एमाले बलियो बनाउन ओलीलाई अध्यक्ष बनाउन नहुने बताइन् । ११ औं महाधिवेशनबाट केपी ओली अध्यक्ष नबन्ने उनको भनाई छ ।

 

 

 

 

 

 

 

विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज (मंगलबार) सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच भिडन्त हुँदैछ। उक्त खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगरले टस जितेर पहिले फिल्डिङ रोजेको हो । यो खेलमा विजयी हुने टोली प्रतियोगिताको फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले पनि फाइनलमा पुग्न अर्को अवसर पाउने छ।

यो खेलमा पराजित हुने टोलीले काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सबीच बुधबार हुने एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायर खेलमा विजयी हुने टोलीले फाइनलमा स्थान बनाउने छ । एनपीएलको दोस्रो संस्करणमा विराटनगर र सुदूरपश्चिम दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । यसअघि, लिग चरणमा पनि यी दुई टोलीबीच खेल भएको थियो । उक्त खेलमा विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराएको थियो । जारी प्रतियोगितामा सुदूरपश्चिम हालसम्म आफूले खेलेको सातमध्ये ६ खेलमा विजयी भएको छ भने एक खेलमा मात्र पराजित भएको छ ।

अर्कोतिर, एनपीएलको दोस्रो संस्करणमा विराटनगर हालसम्म आफूले खेलेको सातमध्ये पाँच खेलमा विजयी भएको छ भने दुई खेलमा पराजित भएको छ । सुदूरपश्चिम एनपीएलको साबिक उपविजेता हो । सुदूरपश्चिम अघिल्लो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । विराटनगर भने अघिल्लो संस्करणमा लिग चरणबाटै बाहिरिएको थियो । पहिलो संस्करणको लिग चरणमा विराटनगर छैटौं भएको थियो ।

 

 

 

 

 

 

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषदको सोमबारको बैठकले विभिनन १८ निर्णयहरु गरेको छ । सञ्चारमन्त्री जगदीश खरेलले आज पत्रकार माझ ती निर्णय सार्वजनिक गरेका छन् । चैत १५ गते राजावादी आन्दोलनको क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गरिएको छ । त्यस्तै यातायात क्षेत्रबारे सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन गर्न दिपक सुवेदीको नेतृत्वमा शरद अधिकारी र योगेन्द्रनाथ कर्माचार्य सदस्य रहेको जाँचबुझ आयोग गठन गरिएको छ । अख्तियारका प्रवक्ता समेत रहेका सहसचिव राजेन्द्रकुमार पौडेललाई बढुवा गरी कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।
हेर्नुस् निर्णयहरु

भौतिक सचिव शर्मा भन्छन्–खरिदसम्बन्धी कानून बनाएर गल्ती भयो कि जस्तो लाग्छ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आयोजनाहरु कानूनी जटिलता, सरकारी उदाशीनता, आयोजना जिम्मा लिएका व्यवसायीको लापरबाहीका कारणबाटै रुग्ण हुने गरेको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले गरेको एक कार्याक्रममा उनले सार्वजनिक खरिद सम्बन्धि कानूनको औचित्यमाथि नै प्रश्न उठाएका हुन् ।

छिमेकी मुलुक भारतमा खरिदसम्बन्धि कानूनै नभएको बताउँदै नेपालमा पनि कहिलेकाही कानून बनाएर गल्ती भयो की भन्ने महशुस आफूले गरेको उनले सुनाए । शर्माकाअनुसार केही विपति र मन्दीका कारणले पनि आयोजनाहरु रुग्ण बनेका हुन् । गोरखा भूकम्पदेखि कोभिडले पनि आयोजनाहरु रुग्ण बनेको उनको भनाइ छ । प्रोजेक्टको डिजाइन सही रुपमा नहुनेदेखि पर्याप्त बजेट नहुँदा पनि धेरै आयोजनहरु समस्यामा विगतमा परेको उनको भनाइ रहेको छ ।

सचिव शर्माले भने, ‘कहिलेकाही त हामीले कानून बनाएर गल्ती गरेका हौँ कि जस्तो मलाई लाग्छ । किनभने २ वर्षअघि एउटा अध्ययनका क्रममा मैले खोजे । त्यसक्रममा भारतमा खरिदसम्बन्धी कानूनै छैन । त्यो सबैले चेक पनि गर्न सकिन्छ । त्यहाँ खरिदसम्बन्धि कानून आजसम्म छैन । उनीहरुले किन नगरेको भने यसका आ–आफ्नै समस्यासँगै विशेषता हुन्छन् ।’

उनले भने, ‘त्यसैले यसलाई डिसेन्टलाइज गरेको भन्ने तर्क भारतीयहरुले दिनु भएको छ । जस्तो डटपेन किन्न कानून र जहाज किन्ने कानुन एउटै बनाइदिदाँ त्यो मिल्दैन । क्षेत्रअनुसार कानून बनाए भइहाल्यो नि । अर्को कुरा इभोलोसनरी प्रोसेर हुँदा कानून बनाएपछि त्यसलाई संशोधन गर्न जटिल हुन्छ । अब हामीले १० वर्षदेखि समस्या पर्यो भनेर भनिरहेका छौं, त्यो समस्या कानूनमा भएकाले सुधार गर्न मुस्किल पर्‍यो । त्यसैले खरिद ऐन भएर मात्रै हुने होइन । कतिपय विषयहरु कानूनमा राख्ने विषय होइन, ती विषयहरु सम्झौतामा राख्ने विषय हो । सरकारी उदाशिनता मैले पनि देख्ने गरेको छु ।’

उनले थपे, ‘कतिपय आयोजनाको शिलन्याश गर्न हतार भएको देखिन्छ । काम सम्पन्न भएपछि उद्घाटन गर्नमा हतार हुनुपर्ने तर त्यसो हुन सकेन । आयोजना पक्षको कमजोरीमा प्रोजेक्ट भनेको एउटा टिम हो । त्यो टिम सोहीअनुसारको गतिमा चल्नुपर्छ तर त्यसो हुन सकेको छैन । हामी एकअर्कालाई दोषरोपण गर्ने होइन, टिम मिलेर प्रोजेक्टहरु सम्पन्न गर्नुपर्छ । अब हामी कर्पोरेट कल्चरमा जानुपरो फर्मको संख्या घटाउनु पर्‍यो । क्षमता बढाउनु पर्‍यो र फर्मको संख्या घटाउनुपर्‍यो । ३५ हजार निर्माण व्यवसायी भनेर भएन ।’ डिजाइनलाई राम्रोसँग हेर्न नपाइने र सधैँ छिटोछिटो ठेक्का गर्नुपर्दा समेत आयोजनाहरु समस्यामा फस्ने गरेको उनको भनाइ छ ।

 

 

 

 

‘जेनजी’ विद्रोहको दुई दिनमै प्रतिगमन भयो, उही संरचनाको चुनावले निकास दिँदैन : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भदौमा देशव्यापी रूपमा उग्रिएको ‘जेनजी’ युवा आन्दोलनले उठाएका मूल भावनाहरूलाई राज्य सत्ता र राजनीतिक नेतृत्वले गम्भीर रूपमा नलिएको आरोप लगाएका छन् । राजधानीमा आयोजित राप्रपाको विरोध सभामा उनले आन्दोलन सकिएको दुई दिनमै देखिएको राजनीतिक प्रतिगमन देशको समस्याको जरो कटान गर्ने कुनै संकेत नभएको टिप्पणी गरेका छन् ।

लिङ्देनका अनुसार युवाहरूको आक्रोश कुनै एक व्यक्ति मात्र हटाउने वा नेतृत्व बदल्ने उद्देश्यका लागि थिएन । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर सुशीला कार्कीलाई सत्तामा पुर्‍याउने जस्ता मागहरू आन्दोलनको वास्तविक सार होइन भन्दै त्यसलाई सतही रूपमा बुझिनु दुर्भाग्यपूर्ण भएको जनाए । उनका शब्दमा, देशमा शान्ति, स्थायित्व र युवाले आफ्नै मातृभूमिमा गरिखान सक्ने वातावरण निर्माण नै जेनजी आन्दोलनको मूल ध्येय थियो ।

अध्यक्ष लिङ्देनले विगतमा राजा र राजनीतिक दलहरूबीच नयाँ प्रकारको समझदारी आवश्यक छ भन्ने कुरालाई दलहरूले हलुका रूपमा लिएको स्मरण गरेका छन् । आफूहरूले राजनीतिक सुधारको चेतावनी दिँदा उपहास गरिएको भन्दै उनले त्यही अवहेलनाले आजको जटिल राजनीतिक परिस्थितिलाई निम्त्याएको आरोप लगाए । उनका अनुसार, वर्तमान व्यवस्थामा रहँदा मात्र निर्वाचन गराउँदा वा व्यक्ति मात्र फेर्दा देशले खोजिरहेको स्थायी समाधान सम्भव छैन ।

२०८४ को निर्वाचनलाई २०८२ मै धकेल्यो वा नेतृत्व फेरियो भन्दैमा मुल समस्या हल नहुने भन्दै उनले चेतावनी दिए । जेनजी आन्दोलनपछि दुई दिनमै देखिएको प्रतिगमनले राजनीतिक प्रणालीकै कमजोरी उजागर गरेको उल्लेख गर्दै उनले उही चुनाव प्रक्रिया र उही संरचनाबाट फेरि समाधान खोज्नु भ्रम हुने बताए ।

देशलाई बढ्दो भूराजनीतिक दबाब र अनिश्चितताबाट जोगाउन अब आवश्यक उपाय भनेकै चुनावअघि नै राजा, राजनीतिक दल र जेनजी आन्दोलनका प्रतिनिधिहरूबीच नयाँ राजनीतिक समझदारी निर्माण गर्नु हो भन्ने उनको निष्कर्ष थियो । लिङ्देनले दीगो समाधान खोज्ने हो भने पुरानै बाटो समाएर अघि बढ्ने समय अब सकिएको स्पष्ट सन्देश सभामा दिए ।

 

लोकतन्त्रभित्र राजतन्त्र समेटौं : रविन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले राप्रपाले पूर्ण राजतन्त्रको पक्षमा वकालत नगरेको बताएका छन् । मंगलवार काठमाडौंमा पार्टीले गरेको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राप्रपाले सबैले एकताको प्रतिक मान्न सक्ने पृथ्वीनारायण शाहको वंशजलाई लोकतन्त्रको परिधिमा स्थान दिएर अघि बढ्नुपर्ने माग गरेको बताए ।

उनले राजनीति भन्दा माथि रहने संस्था राजसंस्था नै रहेको उल्लेख गर्दै सबै जातजाति, भाषाभाषी, धर्म संस्कृतिका मान्छेले मान्ने संस्था राजसंस्था नै रहेको बताए । उनले आधुनिक शक्तिको प्रतिकको रुपमा राजनीतिक दलहरु रहनुपर्ने पनि बताए । राजनीतिक दलहरुले राज्य नै क्षयीकृत हुने गरी गल्ती गरेको पनि बताएका छन् ।

उनले भने, ‘अब हामीले राजनीति भन्दा माथि, देशका सबै जातजाति, भाषाभाषी, धर्म संस्कृतिका मानिसहरुले एकताको प्रतिक मान्न सक्ने पृथ्वीनारायण शाहको वंशज राजसंस्थालाई पुनःस्थापित गर्नैपर्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्ण राजतन्त्र भनेको होइन, यो कुरा बुझ्नु पर्छ । हामीले लोकतन्त्रको फ्रेमवर्कभित्र राजसंस्थालाई पनि स्थान दिनुपर्छ । आधुनिक शक्तिको प्रतिकको रुपमा राजनीतिक दलहरुलाई पनि समेटनु पर्छ । राजनीतिक दलहरुले हजारौँ गल्ती गरेका छन् । राष्ट्र, राज्य नै क्षयीकृत हुने गरेर गल्ती गरेका छन् ।’ उनले ठूलो हृदय गरेर सबैलाई समेट्ने सरकार बनाउनु पर्ने बताए ।

सक्रिय राजतन्त्रसँग सहमत छैनौं : धवल शमशेर जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शमशेर जबराले नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नरहेको बताएका छन् । मंगलवार काठमाडौंमा पार्टीले गरेको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सक्रिय राजतन्त्रसँग आफूहरु सहमत नरहेको बताउँदै नेपालमा संवैधानिक राजसंस्था जरुरी रहेको बताए । उनले यसबारे आफूहरुले राजासँग कुराकानी गरेर स्पष्ट पारेको पनि बताएका छन् । नेपालीका छोराछोरीले देश चलाउने र अभिभावकको भूमिकामा राजसंस्था रहने बताए ।

उनले भने, ‘धेरै साथीहरुले सक्रिय राजतन्त्रका कुरा गर्छन् । त्यो कुरासित हामी सहमत छैनौं । अब सक्रिय राजसंस्था होइन । संवैधानिक राजसंस्था आवश्यक छ । यो कुरा मैले राजासँग पनि सोधेर स्पष्ट पारेको छु । नेपालीका छोराछोरीले देश चलाउने हो । अभिभावकको भूमिका राजसंस्थाले गर्नुपर्छ । यो विषयमा हामी स्पष्ट हुनुपर्छ । सनातन हिन्दु अधिराज्य कायम गर्ने यो सभा हो । यो चेतना जगाउने ठाउँ हो ।’ उनले ठूलो हृदय गरेर सबैलाई समेट्ने सरकार बनाउनु पर्ने बताएका छन् ।

कुन्ती पोखरेलको चेतावनी : युवामाथि कारबाही गर्ने नैतिक अधिकार गृहमन्त्रीसँग छैन

काठमाडौं । राप्रपा केन्द्रीय सदस्य कुन्ती पोखरेलले जेनजी आन्दोलनमा सहभागी युवामाथि कारबाही गर्न खोजिएकोप्रति कडा आपत्ति जनाउँदै त्यसको नैतिक र राजनीतिक अधिकार वर्तमान गृहमन्त्रीसँग नभएको दाबी गरेकी छन् । पार्टीद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आन्दोलनमा घाइते तथा प्रताडित युवाको आवाज प्रतिनिधित्व गर्न आफू आएको उल्लेख गरिन् ।

उनका अनुसार जेनजी आन्दोलनबाट मुलुकले अपेक्षाअनुसार उपलब्धि नपाए पनि युवाको त्याग–समर्पणको सम्मान गर्नुपर्नेमा उल्टै उनीहरूलाई दण्डित गर्न खोजिनु अन्याय हो । पोखरेलले भनिन्, ‘०८४ को निर्वाचन ०८२ मा सारिएकोबाहेक कुनै महत्वपूर्ण उपलब्धि देखिएन, तर देशका लागि लड्ने युवामाथि अहिले कारबाही थोपिन लागेको छ । रगत बगाएर उठाएका युवाको बलिदानमा बनेका गृहमन्त्रीले उनीहरूलाई दण्डित गर्ने हिम्मत कसरी गर्नुहुन्छ ?’ उनले चुनौतीपूर्ण शैलीमा भनिन् कि यदि गृहमन्त्रीमा साँच्चीकै कानुनी कठोरता देखाउने साहस छ भने माओवादी जनयुद्धका नाममा भएका विध्वंसका जिम्मेवारमाथि कारबाही गर्न अग्रसर हुनुपर्ने हो, न कि आन्दोलनकारीमाथि ।

कार्यक्रममा पोखरेलले देशको वर्तमान राजनीतिक द्वन्द्व समाधान गर्न राजा, राजनीतिक दल र जेनजी आन्दोलनबीच नयाँ प्रकारको समझदारी निर्माण आवश्यक रहेको मत व्यक्त गरिन् । नारायणहिटी दरबारमा सुरक्षित राखिएको श्रीपेच राजा संस्थाको औचित्य र निरन्तरताको संकेत भएको उल्लेख गर्दै उनले भनिन्, ‘श्रीपेच म्यूजियम सजाउन राखिने वस्तु होइन, उचित समझदारी बनेका दिन यो फेरि राजाको शीरमा अट्नेछ । देशलाई अघि बढाउने नयाँ सहमति आवश्यक छ ।’ पोखरेलको अभिव्यक्तिले हालै शान्त हुँदै गएको जेनजी आन्दोलन, सरकारको प्रतिक्रिया र मुलुकमा पुनः उठिरहेको राजसंस्थाको बहसबारे राजनीतिक वृत्तमा नयाँ चर्चा जन्माएको छ ।

 

नरसंहारका दोषीलाई कारबाही नभई चुनाव हुन दिन्नौं : खुस्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतृ खुस्बु ओलीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका दोषीमाथि कारबाही नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएकी छिन् । राप्रपाले आज (मंगलबार) काठमाडौंमा आयोजना गरेको विरोध सभामा नेतृ ओलीले भदौ २४ को आन्दोलनपछि पनि कांग्रेस–एमाले नेताको अहंकार नसकिएको बताइन् ।

‘भदौ २४ नेताहरू भाग्नु पर्ने अवस्था के कारणले आयो ? कांग्रेस–एमाले र माओवादीको सिण्डिकेटका कारण भदौ २४ गतेको घटना निम्तियो,’ ओलीले भनिन्, ‘भदौ २४ गते राज्यविहीनताको अवस्थामा जनताले किन राजा र सेनालाई सम्झे किन राष्ट्रपतिलाई सम्झेनन् ?’ ओलीले भदौ २४ गतेको नरसंहारका दोषीलाई कारबाही नहुँदासम्म चुनाव हुन नसक्ने र चुनाव हुन नदिने दाबी गरिन् । राजा, राजनीतिक दल र जेनजीबीच नवीन समझदारीको माग गर्दै राप्रपाले काठमाडौंमा विरोध कार्यक्रम आयोजना गरेको हो ।

रविकिरणको चेतावनी : जेनजी विद्रोहलाई अपराधीकरण गर्ने प्रयास भए फेरि सडकमा उत्रिन्छौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता रवि किरण हमालले भदौ २३–२४ गतेको जेनजी आन्दोलनलाई अपराधीकरण गर्ने प्रयास भए आफूहरु फेरि सडकमा उत्रिने चेतावनी दिएका छन् । आज (मंगलबार) राप्रपाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा हमालले मुख्य राजनीतिक दलका नेताहरू जेनजी आन्दोलनलाई अपराधीकरण गर्न लागे राप्रपाले आन्दोलनको स्वामित्व लिने बताएका हुन् ।

‘जेनजी आन्दोलनपछि देशले नयाँ संविधान प्राप्त गर्छ भन्ने आशा थियो । अहिले त्यो विद्रोहलाई अपराधीकरण गर्ने दिशातर्फ मुख्य राजनीतिक दल गएको बेला राप्रपाले स्वामित्व लिन्छ । जेनजी पुस्ताको भावना बोक्ने पार्टी राप्रपा छ,’ हमालले भने । हमालले राजासहितको नयाँ समझदारी गर्नु जेनजी आन्दोलनको म्यान्डेट रहेको दाबी गरे । ‘जेनजी विद्रोहलाई दमन गर्नेहरूले टाउको उठाए त्यसका विरुद्ध हामी उभिन्छौं । सुशीला कार्की र ओमप्रकाश अर्यालहरूले हाम्रो सामु घुँडा टेक्नु पर्छ । हामी फेरि सडक संघर्षमा जान तयार छौं,’ हमालले भने ।

ठेक्का रुग्ण बनाउन राजनीतिक नेतृत्वदेखि सचिवहरुको पनि हात छ : रवि सिंह

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले रुग्ण ठेक्का अन्त्य गर्नुभन्दा पनि व्यवस्थापनमा लाग्नुपर्ने बेला आएको बताएका छन् । पूर्वाधार पत्रकार समाजले मंगलवार राजधानीमा गरेको कार्यक्रममा उनले रुग्ण ठेक्का व्यवस्थापनको नाममा ठेक्का अन्त्य गरिएको बताएका हुन् । उनले यो सबै काम प्रचारबाजीका रुपमा गरिएको बताए । उनकाअनुसार अहिले पनि ठेक्काहरु रुग्ण हुन नदिने कारण खोजेर अघि बढाउनु पर्छ । रुग्ण ठेक्का अन्त्यका नाममा राजनीति गर्न जरुरी नभएको उनले बताए । अध्यक्ष सिंहकाअनुसार ठेक्का रुग्ण बनाउने जिम्मेवार पात्र प्रमुख रुपमा राजनीतिक नेतृत्व हो राजीतिक पार्टीहरुले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित योजनाहरुलाइ प्राथमिकता दिएका कारणले आयोजनाहरु रुग्ण भएको सिंहले बताए ।

अध्यक्ष सिंहले भने, ‘ठेक्काहरु रुग्ण किन भए ? ठेक्का रुग्ण बनाउने जिम्मेवार को हो ? भन्दा प्रमुख रुपमा राजनीतिक नेतृत्व हो । राजनीतिक पार्टीहरुले आफ्नो निर्वाचन क्षेत्र केन्द्रीत योजनाहरुलाई प्राथमिकता दिएका कारणले आयोजनाहरु रुग्ण भएका हुन् ।’ उनले भने, ‘त्यो ठेक्का रुग्ण बनाउने क्रममा जति राजनीतिक नेतृत्व जिम्मेवार हुन्छ, त्यो भन्दा बढी स्थायी सरकारका रुपमा रहने सचिवदेखि योजना प्रमुखसम्म हुनुहुन्छ । उहाँले नै छिद्रहरु बताएर बहुवर्षीय आयोजनाको नाममा १० लाख बजेट विनियोजन गरेर ४६ करोड ठेक्का लगाउनु हुन्छ ।

ठेक्का लगाउनु अघि गर्नुपर्ने पूर्व तयारी नगरी सूचनाहरु प्रकाशन गरेर हामीसँग सम्झौता गर्नुहुन्छ । जति पनि रुग्ण ठेक्का व्यवस्थापनको नाममा रुग्ण ठेक्का अन्त्य गरिएको छ, यो प्रचारबाजी धेरै भयो । अहिले पनि ठेक्काहरु रुग्ण हुन नदिने कारण खोजेर अघि बढाउनु पर्छ । हिजोका दिनमा पार्टीका सरकार थियो । हरेक पार्टीको निर्वाचन क्षेत्र हुन्थ्यो र त्यो पार्टीको प्रतिनिधित्व गर्ने सांसद्हरुले ती ठेक्का अन्त्य गर्दा आफू अलोकप्रिय हुने त्रासले गर्दा यी ठेक्का रुग्ण भएको सत्य हो ।’

अध्यक्ष सिंहले रुग्ण ठेक्का रुग्ण हुन नदिने अहिलेको नागरिक सरकारले नै काम गर्नसक्ने बताए । उनकाअनुसार अबका दिनमा ठेक्का रुग्ण हुन नदिन सरकारले प्रभावकारी कदम चाल्नुपर्छ । अहिले त्यसो हुन सकेको छैन । अध्यक्ष सिंहका अनुसार पूर्वाग्राही ढंगले रुग्ण ठेक्का तोडिनु हुँदैन । अहिले निर्माण व्यवसायी ‘भिक्टिम’ हुनेगरी ठेक्का तोडिएको छ । सरकारको यो कदमले निर्माण व्यवसायी धराशायी हुने अवस्थामा पुगेको उनको भनाइ छ । निर्माण व्यवसायीलाई समाप्त पार्न खोजीएको उहाँको भनाइ छ । ठेक्का तोड्दा पूर्वाधार क्षेत्र मात्रै होइन, आर्थिक क्षेत्र नै प्रभावित हुने उनको भनाइ छ ।

२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गरौं : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेसम्म चर्चामा रहेका काण्ड तथा २०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् । भ्रष्टाचारविरुद्धको २२ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले यस्तो माग राखेका हुन् ।

‘प्रशासनिक सुधार, सार्वजनिक खरिदमा पारदर्शिता, दण्डहीनताको अन्त्य, सम्पत्ति शुद्धीकरणमा कडाइ र नागरिकको सक्रिय निगरानीका महत्त्वपूर्ण कदम चालिए । हालसम्मका सबै चर्चामा रहेका काण्ड तथा २०४६ यता उच्च पदस्थ सबैको सम्पत्ति छानबीनको माग मैले संसद्को रोष्टमबाटै समेत गरेको थिएँ र आज यो दिवसका अवसरमा त्यही मागलाई फेरि सशक्त रूपमा दोहोर्‍याउँछु,’ प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

उनले भनेका छन्, ‘म प्रधानमन्त्री भएको कार्यकालमा हामीले सुशासनलाई राज्य सञ्चालनको मूल मन्त्र बनायौं । सुशासनकै पक्षमा दृढतापूर्वक कदम चालेकै कारण दलाल, बिचौलिया र भ्रष्ट तत्वहरूको स्वार्थमा आघात पुग्यो र हाम्रो पार्टी नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र सफल भएको विदितै छ। तर पनि त्यो अवधिमा सुशासनका कैयौं मानकहरू स्थापित भए । बिना कुनै राजनीतिक आग्रह–पूर्वाग्रह, भुटानी शरणार्थी प्रकरण लगायत ठूल–ठूला भ्रष्टाचार काण्डहरूको छानबिन अघि बढाइयो ।’ भ्रष्टाचार विरुद्धको लडाइँ एक दिनको अभियान नभएको भन्दै संयोजक प्रचण्डले यो निरन्तरको संघर्ष भएको बताएका छन् ।

शिक्षा मन्त्रालयले माग्यो यी विश्वविद्यालय सेवा आयोगका अध्यक्ष र सदस्य पदका लागि आवेदन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष पदका लागि आवेदन माग गरेको छ । मन्त्रालयले मंगलबार सूचना जारी गरी पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका लागि अध्यक्ष र सदस्य पदमा दरखास्त आह्वान गरेको हो।

मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगको भने अध्यक्ष पदका लागि मात्र आवेदन मागिएको छ । मन्त्रालयले इच्छुक व्यक्तिलाई सात दिनभित्र वैयक्तिक विवरण, शैक्षिक प्रमाणपत्र, अनुभव पेस गर्न भनेको छ । यसैबीच शिक्षामन्त्री महावीर पुनले भने पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिमसँगै कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोगको अध्यक्षका लागि पनि विज्ञापन खुलाइएको बताएका छन्।
हेर्नुस् सूचना

जब ‘आइम्याक्स’मा देखाइयो ‘गोर्खा वारियर’

काठमाडौँ ।  आधुनिक चलचित्र भवनका लागि विकसित गरिएको अत्याधुनिक प्रदर्शन प्रणाली ‘आइम्याक्स’ हो । साधारणभन्दा धेरै ठूलो पर्दा, उच्च रेजोल्युसनका ‘क्यामेरा र प्रोजेक्सन’, शक्तिशाली ध्वनि प्रणाली तथा उत्कृष्ट चित्र गुणस्तर यसको विशेषता हुन् । विशेषतः ‘आइम्याक्स’कै लागि छायाङ्कन गरी तयार गरिएको चलचित्र यस्तो प्रविधि भएको हलमा हेर्दा पर्दामा देखिने दृश्य अझ जीवन्त, विस्तृत र वास्तविक जस्तै अनुभव हुने दर्शकको भनाइ छ ।

विश्वभर लोकप्रिय मानिने ‘आइम्याक्स’ प्रविधि भएको चलचित्र भवन नेपालमा भने छैन ।
चलचित्र भवन नभएकै कारण ‘आइम्याक्स’ प्रविधिमा नेपाली चलचित्र प्रदर्शन हुने कुरा कल्पनाभन्दा परको सपना जस्तै हो । तर करिब दुई वर्षअघि २०८० भदौको अन्तिम साता नेपाली चलचित्र बेलायतको लन्डनस्थित लेस्टर स्क्वायरमा रहेको ‘आइम्याक्स सिने वल्र्ड’ मा देखाइयो । बेलायतमा आफ्नो छुट्टै प्रभाव छाड्न सफल गोर्खा सैनिकको कथामा तयार गरिएको ‘गोर्खा वारियर’ पहिलोपटक ‘आइम्याक्स’ प्रविधिमा प्रदर्शन हुने नेपाली चलचित्र बन्यो ।

पूर्वगोर्खा सैनिक रहिसकेका निर्देशक मिलन चाम्सले निर्देशन गरेको उक्त चलचित्रमा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा देखाइएको छ । भारतीय चलचित्रले समेत ‘वल्र्ड प्रिमियर’ को अनुमति पाउन सङ्घर्ष गर्नुपर्ने लेस्टर स्क्वायरको ‘आइम्याक्स’ मा नेपाली चलचित्र प्रदर्शन हुनु नेपालका लागि गौरवको विषय भएता पनि यसका लागि निकै समय लागेको थियो । निर्देशक चाम्सले विदेशी चलचित्रको ‘प्रिमियर’ हुँदा नेपाली चलचित्रलाई त्यहाँ प्रदर्शन गर्ने र नेपाली कलाकर्मीलाई त्यहाँ ‘रेड कार्पेट’ मा हिँडाउने सपना देख्ने गरेको बतांएका छन् ।

“विदेशी कलाकार र उनीहरुले अभिनय गरेको चलचित्रको तामझाम हेर्दा एक दिन म आफैँ यहाँ नेपाली चलचित्र ल्याउँछु भन्ने लाग्थ्यो । त्यसका लागि मैले चलचित्र निर्देशन गरेदेखि नै प्रयास नगरेको होइन तर ‘आइम्याक्स’ प्रविधि रहेको चलचित्र भवनको आफ्नै नीतिनियम हुन्छ । सोही कारणले सुरुआती दिनमा आफ्ना चलचित्रलाई त्यहाँ प्रदर्शन गर्न सकिन”, उनले भने ।

‘गोर्खा वारियर’ अगाडि निर्देशक चाम्स आफैँले निर्देशन गरेका  अन्य नेपाली चलचित्र ‘प्रिमियर’ गर्न गरिएको प्रस्तावलाई ‘आइम्याक्स सिने वल्र्ड’ ले अस्वीकार गरिरहेको थियो । उनीहरूले विषयवस्तु, भाषागत क्षमता, प्राविधिक सहजता लगायतका विविध पाटोलाई हेर्ने गर्थे । निर्देशक चाम्स आफैँले पनि यी तथ्यलाई धेरैपछि बुझेका छन् ।

“लन्डनमा रहेको आइम्याक्समा प्रिमियर गर्न पैसा भएर मात्र हुँदैन । उनीहरूले कुन भाषा, स्टार वा कम्पनीको चलचित्रलाई ‘प्रिमियर’ ग¥यो भन्ने हुन्छ । सम्भवतः म आफैँ पनि अन्य चलचित्र त्यहाँ प्रदर्शनी गर्न सक्दिन । त्यहाँ खर्चालु मात्र नभएर धेरै कुरा मिलाउनुपर्ने हुन्छ । मैले ‘गोर्खा वारियर’ को प्रिमियर गर्न पाउनाका कारण गोर्खालीप्रति बेलायतीको सम्मान र हाम्रो वीरताको गाथा नै हो”, निर्देशक चाम्सले भनेका छन् ।

पटकपटकको प्रयासमा असफल भएका निर्देशक चाम्सले ‘गोर्खा वारियर’ चलचित्र ‘आइम्याक्स’ प्रविधिमा ‘प्रिमियर’ गर्न एक वर्षको समय नै छुट्याएर तयारी गरेका छन् । चलचित्र भवनलाई गोर्खा सैनिकको वीरताको कथामा बनेको चलचित्र प्रिमियर गर्ने भनेर चिठी लेखेका छन् । बेलायतमा नेपाली र गोर्खा सैनिकलाई गर्ने सम्मानका कारण चलचित्र भवनले एउटा समय दियो । उक्त समयका लागि आर्थिकसँगै त्यहाँ मिलाउनुपर्ने प्राविधिक पक्षहरूले कैयौँ रात निर्देशक चाम्सलाई निदाउन दिएनन् । फलतः एक दशकको एउटा सपनाले मूर्तरुप पायो ।

“गोर्खा सैनिकको कथा नभएको भए संवत ‘प्रिमियर’ गर्ने अनुमति पाउने थिएनौँ । त्यसपछि त्यहाँ ‘रेड कार्पेट’ गरिने स्थानमा रहेका पसलहरूसँग सहमति लिनुपर्छ । त्यहाँ आउने विशिष्ट अतिथिका लागि सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउनु पर्छ । सबैभन्दा महत्वपूर्ण हामीले हाम्रो प्रविधिमा तयार गरेको चलचित्रलाई ‘आइम्याक्स’ प्रविधिमा रुपान्तरण गर्नुपर्छ । यी सब सपनालाई मूर्तरुप दिन धेरै रात अनिदो बसेर काम गरेको छु”, निर्देशक चाम्सले भनेका छन् ।

नेपाली चलचित्र लेस्टर स्क्वायरमा ‘प्रिमियर’ हुने खबरले लन्डनमा निकै चर्चा पाएको थियो । लेस्टर स्क्वायर त्यसै पनि विभिन्न चलचित्र भवन, नाटक मञ्चन गरिने रङ्गमञ्चलगायतका लागि प्रसिद्ध छ । त्यहाँ हरेक कोणमा चलचित्र र कला देखिन्छ । लन्डन मात्र नभई इङ्ग्ल्यान्डकै ‘सिनेमा हब’ का रुपमा परिचित उक्त स्थानमा भएको नेपाली चलचित्रको गतिविधिले बजार विस्तारको सम्भावनालाई पनि सघाएको थियो । त्यहाँ आइपुग्ने चलचित्र पारखीले नेपाली चलचित्रको प्रदर्शनी हुँदैछ भन्दा निकै चासोपूर्वक बुझ्न खोज्थे ।

“मैले २० वर्षअघि देखेको यो सपना पूरा गरेँ । त्यसको प्रभाव नेपालमा के कस्तो प¥यो त्यो भन्न सक्दिन तर नेपाली चलचित्र अत्याधुनिक प्रविधिसँगै बेलायतको मुख्य स्थानमा प्रदर्शन भयो, जहाँ विश्वका प्रसिद्ध निर्देशकका चलचित्र प्रदर्शन हुन्छन् । यसले कालान्तरमा सम्पूर्ण नेपाली चलचित्रलाई टेवा पु¥याउने छ”, निर्देशक चाम्सले भने । ‘आइम्याक्स सिने वल्र्ड’ मा प्रदर्शनी गर्ने तय भएपछि निश्चित शुल्क लिएर चलचित्र भवनले नै ‘गोर्खा वारियर’ लाई ‘आइम्याक्स’ प्रविधिमा रुपान्तरण गरेको निर्देशक चाम्सले जानकारी दिएका छन् ।

लन्डनमा उक्त प्रदर्शनीको चर्चा अझै हुने गर्छ । त्यहाँ आठ सयको हाराहारीमा दर्शकले चलचित्र हेरका थिए । नेपाली चलचित्रलाई ‘आइम्याक्स’ प्रविधिमा हेर्नुको अनुभव छुट्टै रहेको भनाइ उक्त प्रदर्शनीमा सहभागी भएका नेपालका सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईले बताएका छन् ।

उनले भने, “त्यो क्षणलाई शब्दमा व्यक्त गर्नै सकिँदैन । चलचित्र हेराइको अत्याधुनिक अनुभव हो, ‘आइम्याक्स’ । त्यहाँ नेपाली चलचित्र पहिलोपटक प्रदर्शन हुँदै थियो । त्यहाँ नेपालीसँगै बेलायती र अन्य देशका नागरिक पनि सहभागी थिए किनकि उनीहरू बेलायतको रक्षार्थ आफ्नो ज्यानको प्रभाव नगरेका वीर गोर्खा सैनिकको कथालाई हेर्न उत्साहित थिए । त्यो समय स्मरण गर्दा पनि आनन्द आउँछ ।”

नेपाल र नेपालीको शान बढाउने अर्को नेपाली चलचित्र ‘आइम्याक्स’ मा आगामी समयमा कहिले होला रु यसको जवाफ भने कसैसँग छैन । किनकी आर्थिक पाटोसँगै अन्य विविध पक्ष नमिलेसम्म त्यहाँ अर्को चलचित्र प्रदर्शन गर्न कठिन छ । निर्देशक चाम्स आफैँ पूर्वगोर्खा सैनिक भएका कारण व्यावसायिक पाटोलाई ध्यान नदिई एउटा सपना पूरा गर्न अहोरात्र मिहेनत गरेका छन् । उनले चलचित्र तयार गरेर त्यहाँ प्रदर्शन गर्न झण्डै एक दशकको समय लागेको बताएका छन् ।

“म आफैँ पूर्वसैनिक भएकाले हाम्रो वीरताको कथालाई विश्वभर देखाउने एउटा सपना थियो । त्यो पूरा गरेँ, त्यसक्रममा मैले गरेको सङ्घर्षलाई ‘आइम्याक्स’ मा प्रदर्शन भएको दिन भुलायो । एउटा इतिहास बनेको छ, हामी गोर्खालीको वीरता त्यहाँ विश्वभरका चलचित्रकर्मीले हेरेका छन् । यसले आउँदा दिनमा नेपाली चलचित्रलाई पक्कै सघाउनेछ”, निर्देशक चाम्सले भनेका छन् ।

उक्त चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन् । २०८० साल फागुनमा नेपालमा समेत प्रदर्शन भएको उक्त चलचित्रमा वास्तविक झैँ लाग्ने युद्धका दृश्य देखाइएको भन्दै प्रशंसा भएको थियो ।

नेपालमा पछिल्लो समयमा नेपाली चलचित्रले प्राविधिक रूपमा ठूलो फड्को मारेका छन् । नेपाली कथा र फिल्म विश्वका प्रतिष्ठित चलचित्र महोत्सवसम्म पुग्न थालेका छन् । तर ‘आइम्याक्स’ प्रविधि भने नेपालमा कहिले भित्रिन्छ भन्ने प्रश्नको स्पष्ट उत्तर स्वयं चलचित्र प्रदर्शकसँग पनि छैन किनकि उक्त प्रविधि जडान गरी हल सञ्चालन गर्न अत्यन्तै खर्चिलो मानिन्छ ।

रवि भेट्न नख्खु पुगे स्वर्णीम वाग्ले

सभापति रवि लामिछाने भेट्न उपसभापति स्वर्णीम वाग्ले नख्खु कारगार पुगेका छन् । मंगलबार दिउँसो साढे एक बजे उनी नख्खु कारागार पुगेका हुन् ।

वाग्ले पुग्नु अघि सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसी नख्खु पुगेका थिए ।

पूर्व गृहमन्त्री समेत रहेका लामिछाने सहकारी ठगीको आरोपमा उनी नख्खु कारगारमा छन् ।

आयोगमा बयान दिन पुगे सशस्त्रका आईजीपी अर्याल

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्याल भदौ २३ र २४ को घटनासम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिनका लागि पुगेका छन् । भदौ २३ गतेको जेन–जी आन्दोलन, २४ गते उत्पन्न अवस्था, नयाँ बानेश्वरमा भएको सुरक्षा समन्वय अभाव, ती घटनामा सशस्त्र प्रहरीको भूमिका लगायतका विषयमा आयोगले अर्यालसँग बयान लिइरहेको छ ।

यसअघि आयोगले नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाल लगायतसँग बयान लिइसकेको छ । यस्तै सशस्त्र प्रहरीको कार्य विभागका प्रमुख नारायणदत्त पौडेल, प्रहरीका एआईजी सिद्धिविक्रम शाह, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा, पूर्व मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय अनुसन्धान विधागको उपत्यका हेर्ने डीआईजी कृष्ण खनाल, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख ओम राना, सशस्त्र प्रहरीका डीआईजी सुरेश श्रेष्ठ , नेपाल प्रहरीका एसपीद्ववय अपिल बोहरा र कुलदिप चन्दसँग बयान लिइसकेको छ ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सुरक्षा निकायका प्रमुखसंग सोधपुछ गदै आएको छ । आयोगले प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जाने गरी गोली चलाउने काम कानुनसम्मत भए नभएको र २४ गतेको विध्वंसबारे जाँचबुझ गर्ने कार्यादेश पाएको छ । ९ बाट काम सुरु गरेको आयोगले तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ । तर, थप विवरण संकलन र प्रतिवेदन लेखनका कामहरू बाँकी रहेकाले आयोगको समयावधि थप्नुपर्ने निश्चित जस्तै भएको बताइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसँग पनि बयान लिने आयोगको तयारी छ ।