`

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारामा आन्दोलन जारी, आज पनि सडक अवरुद्ध

बारा। जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा बारामा जारी प्रदर्शन बिहिवार पनि रोकिएको छैन।

पीडित परिवार तथा स्थानीयवासीले बुधबार बिहानदेखि पथलैया–वीरगन्ज सडकखण्ड अवरुद्ध गरी प्रदर्शन गर्दै आएका छन्।

बालिकाको हत्यामा संलग्नलाई कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै प्रदर्शनकारीले सडकमा टायर बालेर यातायात अवरुद्ध गरेका हुन्।

सडक अवरुद्ध हुँदा पथलैया–वीरगन्ज सडकखण्डमा सयौँ सवारीसाधन तथा यात्रु अलपत्र परेका छन्। प्रदर्शनकारीले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

प्रहरीका अनुसार साउन ३१ गते बिहान घरबाट बेपत्ता भएकी बालिका सोही दिन भक्तिनगरस्थित एक खाली कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाको बलात्कारपछि हत्या भएको खुलेको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जनाले बालिकालाई चकलेटको प्रलोभन देखाएर घटनास्थलमा लगेको र हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ।

बालिकाको हत्यापछि स्थानीयवासी आक्रोशित बनेका छन्। घटनामा संलग्न सबैलाई कडा कारबाही गर्नुपर्ने र यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था गर्नुपर्ने माग गर्दै उनीहरूले प्रदर्शनलाई निरन्तरता दिएका हुन्।

प्रदर्शनका कारण मुख्य राजमार्गमै यातायात प्रभावित भएपछि यात्रु तथा सवारीसाधनले थप सास्ती खेप्नुपरेको छ।

प्रहरीले भने स्थिति नियन्त्रणमा लिन तथा सडक सञ्चालनको प्रयास गरिरहेको जनाएको छ।

महामारीको मुखमा स्वास्थ्य विभाग निमित्तकै भरमा

काठमाडौं। मौसमजन्य तथा महामारीजन्य रोगको व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्दै आएको स्वास्थ्य सेवा विभाग विगत तीन महिनादेखि निमित्त महानिर्देशकको भरमा सञ्चालन भइरहेको छ।

देशभर मौसमी रोगको जोखिम बढिरहेका बेला विभागमा स्थायी नेतृत्व नहुँदा स्वास्थ्य क्षेत्रको समग्र व्यवस्थापनमा प्रश्न उठेको हो।

पछिल्लो चार महिनामा मात्रै सर्पदंशका कारण ६६ जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस अवधिमा ९५६ जनालाई सर्पले टोकेको छ। त्यस्तै, जापानी इन्सेफलाइटिस (जेई) का ५८ संक्रमितमध्ये १६ जनाको मृत्यु भएको तथ्याङ्क छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा १२औँ तहका दुई अतिरिक्त सचिव कार्यरत हुँदाहुँदै स्वास्थ्य सेवा विभागको नेतृत्व भने ११औँ तहका अधिकृतलाई दिइएको छ।

विभागको संगठनात्मक संरचनाअनुसार महानिर्देशक पदमा स्वास्थ्य सेवा समूहका १२औँ तहका कर्मचारी रहने व्यवस्था भए पनि हाल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. अनुज भट्टचनलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको छ।

मन्त्रीस्तरीय निर्णयबाट गत वैशाख ३० गते डा. भट्टचनलाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको थियो। त्यसयता विभागले स्थायी महानिर्देशक पाउन सकेको छैन।

स्वास्थ्य सेवा विभाग देशको स्वास्थ्य प्रणाली सञ्चालन, व्यवस्थापन तथा सरकारका स्वास्थ्य नीति कार्यान्वयन गर्ने प्रमुख निकाय हो। विभागले स्वास्थ्य सूचना प्रणाली सञ्चालन, जनशक्ति व्यवस्थापन, सरकारी स्वास्थ्य संस्थाको सेवा विस्तार तथा रोग नियन्त्रणका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

तर, विभाग लामो समयसम्म निमित्त नेतृत्वमा रहँदा दीर्घकालीन निर्णय तथा प्रशासनिक काम प्रभावित हुन सक्ने सरोकारवालाहरू बताउँछन्। विशेषगरी स्वास्थ्य सामग्री तथा औषधि खरिद, जनशक्ति व्यवस्थापन र विपद्का बेला आकस्मिक स्वास्थ्य सेवा परिचालनमा नेतृत्वको स्थायित्व महत्वपूर्ण हुने उनीहरूको भनाइ छ।

निमित्त नेतृत्वमा जिम्मेवारीको अवधि निश्चित नहुने भएकाले महत्वपूर्ण निर्णय लिँदा समेत असहजता उत्पन्न हुन सक्ने बताइएको छ। स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार यस्तो अवस्थामा निर्णय प्रक्रियामा ढिलाइ हुनुका साथै दीर्घकालीन योजना कार्यान्वयनमा समेत असर पर्न सक्छ।

अहिले मनसुनसँगै देशभर विभिन्न मौसमी तथा महामारीजन्य रोगको जोखिम बढिरहेको छ। विशेषगरी हैजा, डेंगी, झाडापखाला, स्क्रब टाइफस, औलो र इन्फ्लुएन्जाजस्ता रोगको जोखिम मनसुनमा बढ्ने गर्छ।

खानेपानीका स्रोत दूषित हुने, सरसफाइमा समस्या आउने तथा लामखुट्टे र अन्य रोगवाहक जीवको सक्रियता बढ्ने भएकाले संक्रमणको जोखिमसमेत बढ्ने स्वास्थ्य अधिकारीहरूको आकलन छ।

महामारी तथा संक्रामक रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका लागि आगामी आर्थिक वर्षमा ३० करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। रोगको रोकथाम, निगरानी तथा उपचारका लागि समुदायदेखि प्रादेशिक र केन्द्रीय अस्पतालसम्म एकीकृत पूर्वतयारी अघि बढाइएको विभागले जनाएको छ।

यसबीच सर्पदंश र जापानी इन्सेफलाइटिसका घटनाले पनि जनस्वास्थ्य प्रणालीमाथि थप दबाब सिर्जना गरेको छ। सर्पदंशका घटना विशेषगरी ग्रामीण तथा तराईका क्षेत्रमा बढी देखिने गरेका छन् भने जापानी इन्सेफलाइटिसको जोखिमसमेत विभिन्न जिल्लामा बढिरहेको छ।

स्वास्थ्य सेवा विभागमा स्थायी नेतृत्व नहुँदा यस्ता रोगको निगरानी, नियन्त्रण र आकस्मिक स्वास्थ्य व्यवस्थापनमा आवश्यक समन्वय प्रभावकारी रूपमा हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

विभाग मात्र होइन, देशकै जेठो सरकारी अस्पताल वीर अस्पतालमा समेत १२औँ तहको पुल दरबन्दी रहे पनि मन्त्रालयले हालसम्म कर्मचारी पठाउन सकेको छैन। कोभिड–१९ युनिफाइड अस्पताल बनाउने क्रममा सिर्जना गरिएको उक्त दरबन्दीमा प्रमुख विशेषज्ञस्तरको कर्मचारी खटाउने निर्णय भए पनि कार्यान्वयन हुन सकेको छैन।

इरानलाई झुकाउन ट्रम्पको आर्थिक घेराबन्दी

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा आर्थिक कारबाही अघि बढाउने घोषणा गरेका छन्। अमेरिका र इरानबीचको वार्ता असफल भएपछि ट्रम्पले इरानलाई सहयोग, व्यापार वा आर्थिक राहत उपलब्ध गराउने जुनसुकै मुलुकले पनि अमेरिकी वित्तीय कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएका हुन्।

ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानमाथि थप कडा आर्थिक दबाब सिर्जना गर्ने नीति सार्वजनिक गर्दै अमेरिकाको मुख्य उद्देश्य इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्नु रहेको बताएका छन्। यद्यपि, उनले भविष्यमा कुनै चरणमा इरानसँग पुनः वार्ता हुन सक्ने सम्भावनालाई भने पूर्ण रूपमा अस्वीकार गरेका छैनन्।

ट्रम्पको पछिल्लो घोषणामा सैन्य कारबाही वा अमेरिकी सेनाको प्रत्यक्ष प्रयोगबारे स्पष्ट उल्लेख गरिएको छैन। यसअघि इरानविरुद्ध सैन्य कदम चाल्न सक्ने चेतावनी दिँदै आएका ट्रम्पले पछिल्लो वक्तव्यमा भने आर्थिक दबाब, प्रतिबन्ध र रणनीतिक घेराबन्दीलाई प्राथमिकता दिएका छन्।

अमेरिकाले इरानको प्रमुख आम्दानीको स्रोत मानिने तेल निर्यातलाई प्रभावित पार्ने उद्देश्यले थप कदम चाल्ने संकेतसमेत गरेको छ। विशेषगरी इरानको तेल निर्यातका लागि महत्वपूर्ण मानिने स्ट्रेट अफ हर्मुज वरपरको गतिविधिलाई अमेरिकाले रणनीतिक रूपमा हेरिरहेको छ।

स्ट्रेट अफ हर्मुज विश्वकै महत्वपूर्ण ऊर्जा व्यापारिक जलमार्गमध्ये एक हो। इरानको तेल निर्यातमा त्यसको महत्वपूर्ण भूमिका रहेकाले उक्त जलमार्गसँग सम्बन्धित अमेरिकी कदमले इरानको अर्थतन्त्रमा थप दबाब पार्न सक्ने अनुमान गरिएको छ।

ट्रम्पले इरानसँग आर्थिक वा व्यापारिक सम्बन्ध कायम राख्ने तेस्रो मुलुकलाई समेत कारबाहीको चेतावनी दिए पनि त्यस्ता मुलुकविरुद्ध कस्तो प्रकृतिको वित्तीय प्रतिबन्ध लगाइनेछ भन्ने विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन्।

अमेरिकी नीतिको उद्देश्य इरानमाथि आर्थिक दबाब बढाएर उसलाई आणविक कार्यक्रमसम्बन्धी आफ्नो अडान परिवर्तन गर्न बाध्य पार्नु रहेको देखिन्छ। तर आर्थिक नाकाबन्दी र तेस्रो मुलुकमाथि समेत प्रतिबन्धको चेतावनीले अमेरिका–इरान तनाव थप बढ्न सक्ने जोखिम पनि देखिएको छ।

वार्ता असफल भएपछि सैन्य विकल्पभन्दा आर्थिक दबाबलाई प्राथमिकता दिने ट्रम्पको पछिल्लो रणनीतिले इरानलाई अन्तर्राष्ट्रिय रूपमा थप एक्ल्याउने प्रयासका रूपमा समेत हेरिएको छ। यद्यपि, वार्ताको ढोका खुला राख्ने ट्रम्पको भनाइले कूटनीतिक समाधानको सम्भावना पूर्ण रूपमा समाप्त नभएको संकेत गरेको छ।

ठेक्का तोडिएका ठेकेदारलाई ३५ दिनको अल्टिमेटम

काठमाडौं। सडक डिभिजन कार्यालय इलामले ठेक्का सम्झौता तोडिएका विभिन्न निर्माण व्यवसायीलाई सरकारी बाँकी रकम ३५ दिनभित्र दाखिला गर्न अन्तिम ताकेता गरेको छ ।

डिभिजनअन्तर्गत सञ्चालित विभिन्न आयोजनामा सम्झौताअनुसारको दायित्व पूरा नगरी गम्भीर रूपमा करारीय दायित्व उल्लङ्घन गरेपछि सम्बन्धित निर्माण व्यवसायीका ठेक्का सम्झौता अन्त्य गरिएको कार्यालयले जनाएको छ ।

ठेक्का सम्झौता अन्त्यपछि सार्वजनिक खरिद सम्झौता तथा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(८) बमोजिम कायम भएको सरकारी बाँकी रकम दाखिला गराउन कार्यालयले यसअघि पटक–पटक प्रयास गरेको थियो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम रकम दाखिला गर्न आग्रह गरिए पनि हालसम्म रकम नबुझाएपछि कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गरेको हो ।

सूचनाअनुसार सम्बन्धित निर्माण व्यवसायीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नेपाल सरकारको नेपाल बैंक लिमिटेडमा रहेको राजस्व खातामा सरकारी बाँकी रकम जम्मा गर्नुपर्नेछ । रकम दाखिला गरेपछि त्यसको बैंक भौचर सडक डिभिजन कार्यालय इलाममा पेस गर्नुपर्नेछ ।

कार्यालयले रकम जम्मा गर्न राजस्व खाता नम्बर ००१०१००००००००१००१००१, राजस्व कोड नम्बर १४३१२ र कार्यालय कोड नम्बर ३३७०१०३०१ तोकेको छ ।

सडक डिभिजनका अनुसार पाँचथरको बुढाथोकी निर्माण सेवाले २३ लाख ४ हजार ५८७ रुपैयाँ ४५ पैसा, ताप्लेजुङको मावोहाङ निर्माण सेवाले १ करोड ८ लाख २५ हजार २ रुपैयाँ ६२ पैसा र मकवानपुरको शिव शक्ति इन्फ्रा डेभलपर्स प्रालिले दुईवटा ठेक्काबापत क्रमशः ४ करोड ५९ लाख ७१ हजार ५६३ रुपैयाँ ७५ पैसा र ३ करोड ४२ लाख ४७ हजार ७०८ रुपैयाँ ६८ पैसा बुझाउनुपर्नेछ ।

त्यस्तै, इलामको एमडी ब्रो कन्स्ट्रक्सन प्रालिले ९ लाख ३४ हजार ७५० रुपैयाँ १ पैसा, धनकुटाको शाह/पूजा जेभीले दुईवटा ठेक्काबापत क्रमशः ८६ लाख ३३ हजार ३१३ रुपैयाँ ७८ पैसा र ५७ लाख ३६ हजार ९५९ रुपैयाँ ६७ पैसा बुझाउनुपर्नेछ ।

धनकुटाकै आशिवर्दि/पूजा जेभीले १ करोड ७१ लाख ७४ हजार १६३ रुपैयाँ ९२ पैसा, इलामको माइ–जोगमाईस्थित एबिसी निर्माण सेवाले १ करोड १८ लाख १३ हजार ३८४ रुपैयाँ २३ पैसा तथा धनुषाको केएम कन्स्ट्रक्सनले ३६ लाख ८७ हजार ७२६ रुपैयाँ ३६ पैसा बुझाउनुपर्ने कार्यालयले जनाएको छ ।

यसैगरी पाँचथरको टेक एण्ड सपना कन्स्ट्रक्सन प्रालिले ७९ लाख ४९ हजार २४५ रुपैयाँ २९ पैसा र धनुषाको गायत्री माँ कन्स्ट्रक्सन एण्ड समरित कन्स्ट्रक्सन जेभीले १ करोड ९९ लाख १४ हजार ४४७ रुपैयाँ ९९ पैसा सरकारी बाँकी रकम दाखिला गर्नुपर्नेछ ।

कार्यालयले तोकिएको अवधिभित्र रकम दाखिला नगरेमा प्रचलित कानुनबमोजिम सरकारी बाँकी रकम असुलीसम्बन्धी थप प्रक्रिया अघि बढाइने जनाएको छ।

खर्चमा सुस्त सरकार

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा सरकारको बजेट कार्यान्वयन औसत देखिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)नेतृत्वको सरकारले ल्याएको बजेटअनुसार साउनमा खर्चको गति अपेक्षाकृत कमजोर रहे पनि राजस्व सङ्कलनमा भने अघिल्लो वर्षको तुलनामा सामान्य सुधार भएको छ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार साउनमा सरकारले ४१ अर्ब ८८ करोड रुपैयाँ खर्च गरेको छ। सरकारले चालु आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। त्यसको तुलनामा पहिलो महिनाको खर्च १.९७ प्रतिशत मात्रै हो।

पहिलो महिनाको खर्च प्रतिशतका आधारमा हेर्दा यो २०७९/८० पछिकै न्यून हो। गत आर्थिक वर्ष २०८२/८३ को साउनमा कुल बजेटको २.३६ प्रतिशत खर्च भएको थियो। त्यस्तै २०८१/८२ मा २ प्रतिशत र २०७९/८० मा १.२४ प्रतिशत खर्च भएको थियो।

 

पुँजीगत खर्च झनै कमजोर

सरकारको कुल खर्चमध्ये साउनमा सबैभन्दा बढी रकम वित्तीय व्यवस्थातर्फ खर्च भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार वित्तीय व्यवस्थातर्फ १९ अर्ब १५ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ। यो वार्षिक विनियोजनको ४.५३ प्रतिशत हो।

चालु खर्चतर्फ २१ अर्ब ४० करोड ३८ लाख रुपैयाँ खर्च भएको छ। यो कुल विनियोजनको १.६८ प्रतिशत हो।

तर विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्च भने निकै कमजोर देखिएको छ। साउनमा पुँजीगत खर्च १ अर्ब ३२ करोड ८५ लाख रुपैयाँ मात्रै भएको छ। यो वार्षिक पुँजीगत बजेटको ०.३१ प्रतिशत मात्रै हो।

सरकारले हरेक वर्ष बजेटको ठूलो हिस्सा विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखे पनि आर्थिक वर्षको सुरुवातमै पुँजीगत खर्च न्यून रहने प्रवृत्ति दोहोरिएको छ। यसले विकास आयोजनाको कार्यान्वयन गति तथा सरकारी खर्चको प्रभावकारितामाथि प्रश्न उठाउँदै आएको छ।

राजस्व सङ्कलनमा भने सुधार

खर्चतर्फ कमजोर देखिएको सरकारको बजेट कार्यान्वयनमा राजस्व परिचालन भने अघिल्लो वर्षको तुलनामा केही सुधारिएको छ।

चालु आर्थिक वर्षमा सरकारले १५ खर्ब ३१ अर्ब ८३ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ। साउनमा मात्रै ९२ अर्ब २२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। यो वार्षिक लक्ष्यको ५.८४ प्रतिशत हो।

गत आर्थिक वर्षको सोही अवधिमा सरकारले वार्षिक राजस्व लक्ष्यको ५.७१ प्रतिशत सङ्कलन गरेको थियो। यस हिसाबले चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्व परिचालनमा सामान्य सुधार भएको देखिन्छ।

साउनमा सङ्कलन भएको कुल राजस्वमध्ये ८५ अर्ब १९ करोड रुपैयाँ कर राजस्व र ७ अर्ब ३ करोड रुपैयाँ गैरकर राजस्व रहेको छ।

गत आर्थिक वर्षको साउनमा कर राजस्व ८० अर्ब ६७ करोड रुपैयाँ र गैरकर राजस्व ३ अर्ब ९ करोड रुपैयाँ सङ्कलन भएको थियो। यस वर्ष कुल राजस्व सङ्कलन गत वर्षको सोही अवधिको तुलनामा ९.१९ प्रतिशतले बढी हो।

 

कर्मचारीको तलब भुक्तानी ढिला हुँदा खर्च प्रभावित

साउनमा चालु खर्च कमजोर देखिनुको एउटा कारण सरकारी कर्मचारीको तलब भुक्तानीमा भएको ढिलाइलाई मानिएको छ।

यस वर्षदेखि सरकारी कर्मचारीको तलबभत्ता भुक्तानी प्रणालीमा परिवर्तन गरिएको छ। सबै सरकारी कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्ने व्यवस्था लागू गरिएको छ। यसका कारण विगतका वर्षमा जस्तो साउनको अन्तिम सातादेखि एकैपटक ठूलो रकम तलबका रूपमा खर्च हुन सकेन।

अघिल्ला वर्षमा निजामती कर्मचारीको तलब सामान्यतः महिनाको २५ गतेदेखि भुक्तानी हुने गरेको थियो। पुरानै तलबमान कायम रहेकाले त्यसका लागि नयाँ तलबमान स्वीकृत गराउनुपर्ने अवस्था पनि थिएन।

तर चालु आर्थिक वर्षमा नयाँ तलबमान निर्धारण गर्न ढिलाइ हुनुका साथै भुक्तानी प्रणालीसमेत परिवर्तन भएकाले साउनको चालु खर्च प्रभावित भएको हो।

महालेखा नियन्त्रक कार्यालयले सोमबार मात्रै सबै कोष तथा लेखा नियन्त्रक कार्यालय र निवृत्तिभरण कार्यालयलाई परिपत्र गर्दै १५ दिनमा तलब वितरण गर्ने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ।

सरकारी कर्मचारीको तलबभत्तामा मात्रै मासिक करिब ३० अर्ब रुपैयाँ खर्च हुने गरेको छ। तलबभत्ता भुक्तानी समयमा हुन नसक्दा साउनमा चालु खर्च अपेक्षाकृत कम देखिएको महालेखा नियन्त्रक कार्यालयका अधिकारीहरूको भनाइ छ।

समग्रमा चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारको खर्चको गति कमजोर देखिएको छ। विशेषगरी पुँजीगत खर्च अत्यन्त न्यून रहेकाले विकास बजेट कार्यान्वयनमा सरकारलाई चुनौती देखिएको छ।

उच्च अदालत पाटनले भन्यो- किशोर श्रेष्ठलाई तत्काल पक्राउ नगर्नू

काठमाडौं। उच्च अदालत पाटनले जन आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ नगर्न आदेश दिएको छ।

सर्वोच्च अदालतको परमादेशपछि आफूलाई पक्राउ गर्ने उद्देश्यले धरपकड हुन थालेको दाबी गर्दै श्रेष्ठले उच्च अदालत पाटनमा निषेधाज्ञासहितको रिट निवेदन दायर गरेका थिए। उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश अच्युत कुइँकेलको एकल इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्म श्रेष्ठलाई पक्राउ तथा धरपकड नगर्न आदेश दिएको हो।

इजलासले विपक्षीका नाममा जारी गरेको आदेशमा भनिएको छ, ‘निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकलाई धरपकड गर्ने, पक्राउ गर्ने, थुनामा राख्नेलगायतका कार्य नगर्नू, नगराउनू।’

उपसभामुख रुबीकुमारी ठाकुरले प्रकाशित समाचारको विषयलाई लिएर जिल्ला प्रहरी परिसर, ललितपुरमा जाहेरी दिएपछि श्रेष्ठले कानुनी उपचार खोज्दै मंगलबार उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। सोही रिटमा बुधबार सुनुवाइ गर्दै अदालतले अन्तरिम प्रकृतिको निषेधाज्ञा आदेश जारी गरेको हो।

१६ जना कानुन व्यवसायीले गरे बहस

श्रेष्ठको पक्षबाट इजलासमा वरिष्ठ अधिवक्तासहित १६ जना कानुन व्यवसायीले बहस गरेको जनाइएको छ।

श्रेष्ठको पक्षबाट बहस गर्ने वरिष्ठ अधिवक्तामा डा. युवराज संग्रौला, गोविन्दप्रसाद शर्मा बन्दी, टीकाराम भट्टराई र अमर थापा रहेका छन्।

त्यसैगरी अधिवक्ताहरू बद्रीप्रसाद भुसाल, भूपाल बस्नेत, डा. प्रेमराज सिलवाल, चुडामणि पौडेल, टीकाबहादुर कुँवर, मुकुन्द अधिकारी, अनन्तराज लुईँटेल, रामचन्द्र (आरसी) गौतम, राजाराम घिमिरे, कृष्णकुमार आङदाम्बे, सुजाता केसी र अभास रेग्मीले श्रेष्ठको तर्फबाट बहस गरेका थिए।

यसअघि उल्लेखित विवरणमा श्रेष्ठको पक्षबाट १७ जना कानुन व्यवसायीले बहस गरेको भनिए पनि पछि १६ जना कानुन व्यवसायीको नाम सार्वजनिक गरिएको छ। त्यसैले उपलब्ध नामावलीअनुसार १६ जना कानुन व्यवसायीले बहस गरेको विवरणलाई आधार मानिएको छ।

उच्च अदालतको पछिल्लो आदेशसँगै रिटको अन्तिम फैसला नआएसम्म श्रेष्ठलाई पक्राउ गर्ने, धरपकड गर्ने वा थुनामा राख्ने प्रक्रिया अघि बढाउन विपक्षी पक्षलाई रोक लगाइएको छ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रारम्भिक बाल विकास (ईसीडी) सहजकर्ता, विद्यालय कर्मचारी तथा विद्यालय सहयोगीको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ।

सरकारले शिक्षा क्षेत्रसँगै हवाई सेवा, सीमा व्यवस्थापन, विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्ध तथा प्रशासनसँग सम्बन्धित विभिन्न निर्णयसमेत गरेको छ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै ईसीडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि सङ्घीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँका दरले वृद्धि गर्ने निर्णय भएको जानकारी दिए।

त्यस्तै, माध्यमिक तह कक्षा ९–१० मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको तलब माध्यमिक तृतीय श्रेणीका शिक्षकसरह कायम गर्ने निर्णय भएको छ। आधारभूत तह कक्षा ६–८ मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको तलब भने निम्न माध्यमिक तृतीय श्रेणीका शिक्षकसरह कायम गरिने भएको छ।

शिक्षा क्षेत्रसँग सम्बन्धित यी निर्णयले न्यून पारिश्रमिकमा कार्यरत ईसीडी सहजकर्ता, विद्यालय कर्मचारी, विद्यालय सहयोगी तथा अनुदान कोटाका शिक्षकलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधारसम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

उक्त अनुदान विमानस्थलको हवाई यातायात व्यवस्थापन तथा एयर ट्राफिक कन्ट्रोल प्रणाली सुधारसम्बन्धी परियोजनामा उपयोग गरिनेछ।

सरकारले एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको सब–सेन्टर (शाखा) नेपालमा स्थापना गर्न पनि स्वीकृति दिएको छ।

विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा विपद् व्यवस्थापनका क्षेत्रमा क्षेत्रीय सहकार्य तथा क्षमता अभिवृद्धिका लागि यस्तो शाखा उपयोगी हुने सरकारको अपेक्षा छ।

अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।

यसका लागि परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गरिएको हो।

गृह मन्त्रालयको प्रस्तावमा २०८३ भदौ ४ र ५ गते भारतमा आयोजना हुने ‘ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट’को १४औँ बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णय भएको छ।

नेपाल–भारत सीमा व्यवस्थापन, सीमा क्षेत्रमा देखिने समस्या तथा द्विपक्षीय समन्वयका विषयमा उक्त बैठकमा छलफल हुने गर्दछ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सरकारले नेपाल र साउदी अरेबियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति दिएको छ।

सम्झौताले दुई देशबीच हवाई सम्पर्क विस्तार तथा नियमित हवाई सेवाका लागि कानुनी आधार तयार गर्नेछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३ स्वीकृत गरिएको छ।

सरकारी निकायमा सफ्टवेयर विकास तथा सञ्चालनसम्बन्धी कामलाई व्यवस्थित गर्ने उद्देश्यले समिति गठनसम्बन्धी आदेश स्वीकृत गरिएको हो।

मन्त्रिपरिषद्ले भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक र नागरिक लगानी कोष ऐन, २०४७ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ।

यी विधेयक संसद्मा पेस भएपछि सम्बन्धित समितिमा छलफल तथा आवश्यक संशोधनको प्रक्रिया अघि बढ्नेछ।

प्रशासनतर्फ मन्त्रिपरिषद्ले सहसचिव **कमलप्रसाद भट्टराईलाई राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव)**मा बढुवा गर्ने निर्णय गरेको छ।

बढुवा भएका भट्टराईलाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिव पदमा पदस्थापन गरिएको छ।

यसरी बुधबारको मन्त्रिपरिषद् बैठकले शिक्षा क्षेत्रमा पारिश्रमिक वृद्धि र शिक्षकको तलब पुनर्संरचनादेखि विमानस्थल सुधारका लागि विदेशी अनुदान स्वीकार, विपद् व्यवस्थापनसम्बन्धी क्षेत्रीय सहकार्य, सीमा व्यवस्थापन, हवाई सेवा विस्तार, कानुन संशोधन र उच्च प्रशासनिक पदस्थापनसम्मका निर्णय गरेको छ।

ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीको तलब बढ्यो

काठमाडौं। सरकारले प्रारम्भिक बाल विकास (ईसीडी) सहजकर्ता, विद्यालय कर्मचारी तथा विद्यालय सहयोगीको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

यस निर्णयसँगै ईसीडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीले हाल पाउँदै आएको सङ्घीय अनुदानमा मासिक ५ हजार रुपैयाँ थप प्राप्त गर्नेछन्। स्थानीय तहबाट उपलब्ध हुने रकम तथा अन्य सुविधा भने सम्बन्धित स्थानीय तहको निर्णय र प्रचलित व्यवस्थाअनुसार फरक हुन सक्नेछ।

त्यस्तै, मन्त्रिपरिषद्ले शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको पारिश्रमिकसमेत पुनरावलोकन गरेको छ।

निर्णयअनुसार माध्यमिक तह (कक्षा ९–१०) मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको तलब माध्यमिक तृतीय श्रेणीका शिक्षकसरह कायम गरिनेछ। त्यसैगरी आधारभूत तह (कक्षा ६–८) मा कार्यरत शिक्षकको तलब निम्न माध्यमिक तृतीय श्रेणीका शिक्षकसरह हुने गरी व्यवस्था गरिएको छ।

सरकारको यो निर्णयले लामो समयदेखि पारिश्रमिक तथा सेवा सुविधामा असमानता रहेको भन्दै आवाज उठाउँदै आएका विद्यालय कर्मचारी, ईसीडी सहजकर्ता र अनुदान कोटामा कार्यरत शिक्षकलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

विशेषगरी ईसीडी सहजकर्ता तथा विद्यालय कर्मचारीको पारिश्रमिक स्थानीय तहअनुसार फरक हुने र न्यून पारिश्रमिकमा काम गर्नुपर्ने अवस्था रहेको भन्दै यस क्षेत्रमा लामो समयदेखि तलब वृद्धि तथा सेवा सुविधा सुधारको माग हुँदै आएको थियो।

मन्त्रिपरिषद्को पछिल्लो निर्णयले विद्यालय शिक्षामा प्रत्यक्ष रूपमा संलग्न जनशक्तिको पारिश्रमिक संरचनालाई थप व्यवस्थित गर्ने प्रयास गरेको देखिएको छ।

प्रधानमन्त्री बालेन र मन्त्रीबीच यस्तो सम्झौता

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले चालु आर्थिक वर्षमा सरकारले अघि बढाउने मुख्य काम तथा अपेक्षित उपलब्धिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह र विभिन्न मन्त्रालयका मन्त्रीबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर तथा सम्झौतापत्र आदानप्रदान भएको हो।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सम्झौतामा सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित लक्ष्य तथा कार्यक्रमलाई प्राथमिकता दिइएको छ।

मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र आवधिक योजनालाई आधार बनाएर सम्झौतामा विभिन्न मापनयोग्य सूचक र लक्ष्य समावेश गरिएको छ। यसले मन्त्रीहरूले आफ्नो मन्त्रालयबाट सम्पादन गर्नुपर्ने कामलाई निश्चित समयसीमा र परिणामसँग जोड्ने अपेक्षा गरिएको छ।

कार्यसम्पादन सम्झौताका आधारमा प्रधानमन्त्रीले मन्त्रीहरूको कामको मूल्याङ्कन तथा अनुगमन गर्न सक्नेछन्। साथै मन्त्रीहरूलाई आफ्नो जिम्मेवारीप्रति थप जवाफदेही बनाउन पनि सम्झौताले आधार तयार गर्नेछ।

सरकारले निर्धारण गरेका नीति, कार्यक्रम र बजेटमा उल्लेखित लक्ष्य कार्यान्वयन गर्न कार्यसम्पादन सम्झौता प्रभावकारी हुने प्रधानमन्त्री कार्यालयको विश्वास छ। यही प्रक्रियाअनुसार मन्त्रीहरूले सम्बन्धित मन्त्रालयका सचिवसँग समेत कार्यसम्पादन सम्झौता गर्ने व्यवस्था छ।

प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौता गर्ने मन्त्रीहरूमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन रहेका छन्।

त्यसैगरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले पनि प्रधानमन्त्रीसँग सम्झौता गरेका छन्।

यसै क्रममा प्रधानमन्त्री शाहसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले समेत कार्यसम्पादन सम्झौता गरेका छन्।

बादलको आरोप- मुलुकमा ‘बालेन्द्रतन्त्र’ हाबी भयो

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाएको छ।

एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकारको शासनशैलीलाई ‘बालेन्द्रतन्त्र’ को संज्ञा दिँदै मुलुकमा राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवालमा गम्भीर सङ्कट उत्पन्न भएको दाबी गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बादलले नेपालको लोकतान्त्रिक इतिहासकै कठिन परिस्थितिमध्ये अहिलेको अवस्था रहेको टिप्पणी गरे। उनले प्रधानमन्त्री शाह नेतृत्वको सरकार लोकतान्त्रिक मूल्य र मान्यताभन्दा बाहिर गएर अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाए।

‘२०१७ सालमा महेन्द्रतन्त्र र २०६१ सालमा ज्ञानेन्द्रतन्त्र आएजस्तै अहिले मुलुकमा बालेन्द्रतन्त्र स्थापित भएको छ,’ बादलले भने।

उनले सरकारका पछिल्ला गतिविधिले लोकतान्त्रिक संस्था, संवैधानिक व्यवस्था र जनताका अधिकारमाथि प्रश्न उठ्ने अवस्था सिर्जना गरेको बताए। सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले प्रधानमन्त्री शाहले सत्ताको अभ्यासलाई संस्थागत प्रक्रियाभन्दा व्यक्तिगत निर्णयतर्फ केन्द्रित गरेको आरोप लगाए।

बादलले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट प्रहार भइरहेको दाबी गर्दै प्रधानमन्त्री शाहले जेठ १७ गते प्रतिनिधिसभामा दिएको अभिव्यक्तिमाथि समेत प्रश्न उठाए।

प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै बादलले त्यसलाई ‘राष्ट्रविरोधी र गैरजिम्मेवार अभिव्यक्ति’को संज्ञा दिए।

‘त्यस दिन सदनमा प्रधानमन्त्रीले अस्वाभाविक र राष्ट्रविरोधी अभिव्यक्ति दिनुभयो,’ उनले भने, ‘नेपालले पनि भारतको भूमि मिचेको छ भन्नु गैरजिम्मेवारपनको पराकाष्ठा हो।’

नेपालको सीमा, राष्ट्रिय हित र सार्वभौमसत्तासँग जोडिएका विषयमा प्रधानमन्त्रीबाट आउने अभिव्यक्ति संवेदनशील र जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले नेपालको राष्ट्रिय अडान कमजोर पार्ने काम गरेको बादलको आरोप छ।

एमाले नेता बादलले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र देखिएको आन्तरिक शक्ति संघर्षलाई राष्ट्रिय सुरक्षासँग जोडेर प्रश्न उठाए।

रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण र त्यसपछि प्रधानमन्त्री शाहको संसद्मा भएको आकस्मिक उपस्थितिबीच सम्बन्ध रहेको हुनसक्ने आशंका उनले व्यक्त गरे।

उनले भने, ‘एकातिर भारतमा रास्वपा सभापतिले भव्य स्वागत पाउनु र अर्कोतिर नेपालमा प्रधानमन्त्रीले आफ्नै भूमि मिचिएको स्वीकार्नु रहस्यमय छ।’

बादलले यी घटनाक्रमलाई सामान्य राजनीतिक गतिविधिका रूपमा मात्रै हेर्न नहुने भन्दै यसको पछाडि कुनै भू-राजनीतिक चलखेल छ कि छैन भन्ने प्रश्न उठाए।

उनले थपे, ‘कतै नेपाल सिक्किमीकरणको प्रक्रियामा त छैन ? यसले गम्भीर संशय पैदा गरेको छ।’

बादलले सरकारका पछिल्ला गतिविधिले नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठाउने अवस्था सिर्जना गरेको बताए।

उनले मुलुकको आन्तरिक राजनीतिक विवादलाई बाह्य शक्तिको प्रभावसँग जोडेर हेर्नुपर्ने अवस्था आएको दाबी गर्दै राष्ट्रिय हितका विषयमा सबै राजनीतिक दल र नागरिक सचेत हुनुपर्नेमा जोड दिए।

सरकारको विदेश नीति, राष्ट्रिय सुरक्षा नीति तथा छिमेकी मुलुकसँगको सम्बन्ध सञ्चालनमा विशेष सतर्कता अपनाउनुपर्ने उनको भनाइ थियो।

बागमतीमा एमाले र नेकपालाई समर्थन गर्ने निर्णयले राप्रपामा चर्कियो मतभेद

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र बागमती प्रदेशमा सरकार गठनको विषयलाई लिएर विवाद चर्किएको छ।

पार्टी केन्द्रले प्रदेश सरकारमा सहभागी नहुने र सरकार गठन प्रक्रियामा तटस्थ बस्न निर्देशन दिएको अवस्थामा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले एमाले-नेकपा गठबन्धनलाई सरकार गठनमा समर्थन गरेपछि विवाद सतहमा आएको हो।

थापाले एमालेका किरण थापा मगरलाई मुख्यमन्त्री बनाउन राप्रपाका १२ प्रदेशसभा सदस्यको समर्थन रहेको पत्र प्रदेश प्रमुखसमक्ष बुझाएका थिए। तर, पार्टीको केन्द्रीय नेतृत्वले उक्त समर्थनलाई अस्वीकार गरेको छ।

राप्रपाका महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले बुधबार प्रदेश प्रमुखलाई पत्र पठाउँदै ‘राप्रपाको कुनै निर्णय र निर्देशन बिना’ एमालेका किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गरिएको पत्र बुझाइएको भन्दै त्यसमा पार्टीको सहमति नरहेको स्पष्ट पारेका छन्।

गुरुङले प्रदेश प्रमुखलाई आग्रह गर्दै भनेका छन्, ‘राप्रपाको सहमति नभएको हुँदा उक्त पत्रलाई मान्यता प्रदान नगर्न हुन अनुरोध छ।’

यो विवादको पृष्ठभूमिमा राप्रपाले पछिल्ला दिनमा गरेका निर्णयहरू छन्।

गत साउन २० गते बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले वर्तमान परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको थियो। प्रदेश सरकारका सम्बन्धमा निर्णय गर्नुपर्ने अवस्था आए पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्षलाई दिने निर्णयसमेत भएको थियो।

त्यसपछि भदौ १ गते पार्टीले बागमती प्रदेश संसदीय दलका नेतालाई सरकार निर्माणसम्बन्धी मतदान र समर्थन प्रक्रियामा अर्को निर्देशन नआएसम्म तटस्थ बस्न निर्देशन दिएको थियो।

तर, यही निर्देशनको विपरीत भदौ ३ गते बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले एमाले-नेकपा गठबन्धनलाई सरकार गठनमा समर्थन गर्ने निर्णय गरे। एमालेका तर्फबाट किरण थापा मगरलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै राप्रपाका १२ प्रदेशसभा सदस्यको समर्थन रहेको पत्र प्रदेश प्रमुखसमक्ष बुझाइएको थियो।

थापाले प्रदेश प्रमुखलाई पठाएको पत्रमा भनेका छन्, ‘नेपालको संविधान, २०७२ को धारा १६८ (२) अनुसार नयाँ सरकार निर्माण गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट मुख्यमन्त्री पदका लागि माननीय प्रदेशसभा सदस्य किरण थापा मगरलाई प्रस्ताव गरेकोमा राप्रपाका १२ जना माननीय प्रदेशसभा सदस्यसहितको समर्थन रहेको व्यहोरा अनुरोध छ।’

तर, यही निर्णयलाई राप्रपाको केन्द्रीय नेतृत्वले अस्वीकार गरेको हो।

महामन्त्री गुरुङले आफ्नो पत्रमा भदौ १ गते नै पार्टीले बागमती प्रदेश संसदीय दलका नेतालाई अर्को निर्देशन नआएसम्म सरकार गठन प्रक्रियामा तटस्थ बस्न निर्देशन दिएको स्मरण गराएका छन्। पार्टीको निर्णय र निर्देशनविपरीत प्रदेश संसदीय दलबाट समर्थनको पत्र बुझाइएको भन्दै उनले त्यसलाई मान्यता नदिन प्रदेश प्रमुखसँग आग्रह गरेका छन्।

यससँगै बागमतीमा सरकार गठनको अंकगणितसँगै राप्रपाभित्रको आन्तरिक विवाद पनि निर्णायक मोडमा पुगेको छ। प्रदेश संसदीय दलका नेता थापा एमाले-नेकपा गठबन्धनको पक्षमा उभिएका छन् भने पार्टीका महामन्त्री एवं सचिवालय प्रमुख गुरुङले त्यसलाई पार्टीको निर्णयविपरीत भन्दै अस्वीकार गरेका छन्।

अब प्रदेश प्रमुखले राप्रपाको केन्द्रीय निर्णयलाई आधार मान्छन् कि प्रदेश संसदीय दलले बुझाएको समर्थनपत्रलाई मान्यता दिन्छन् भन्ने प्रश्न उठेको छ।

राप्रपाभित्रको यो विवादले बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया थप पेचिलो बनाएको छ।

भदौमा टीओबीले लुटेको हात हतियार तिब्बती गुम्बा भएको बादलको दाबी

काठमाडौं। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारको कार्यकाल छोटो भए पनि राष्ट्रियता, लोकतन्त्र र जनजीविकामाथि गम्भीर सङ्कट देखिएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै बादलले सरकारको विदेश नीति तथा राष्ट्रिय सुरक्षा रणनीतिमाथि प्रश्न उठाउँदै पछिल्लो समय नेपालको कूटनीतिक अभ्यासमा ‘खतरनाक विचलन’ देखिएको दाबी गरे।

उनले विशेषगरी नेपालमा तिब्बती मामिला र दलाई लामासँग सम्बन्धित गतिविधिप्रति सरकारले अपनाएको नीतिको आलोचना गरे।

बादलका अनुसार सरकारले तिब्बती धार्मिक संस्था तथा पश्चिमी कूटनीतिज्ञलाई दलाई लामाको जन्मोत्सव मनाउने नाममा नेपालमा राजनीतिक गतिविधि गर्न अनुमति दिएको छ।

‘हालै सरकारले टीओबी तथा पश्चिमी कूटनीतिज्ञहरूलाई दलाई लामाको जन्मोत्सव मनाउने बहानामा खुलेआम राजनीतिक चलखेल गर्न अनुमति दिएको छ,’ उनले भने।

बादलले गत भदौमा भएको सत्ता परिवर्तनको प्रसङ्ग जोड्दै उक्त घटनामा दलाई लामाको पक्षबाट बधाई तथा शुभकामना आएको र तिब्बती पक्षसँग सम्बन्धित समूहको सक्रियता रहेको दाबी गरे। उनले त्यसबेला भएका घटनाप्रति चीन सरकारले गम्भीर चासो व्यक्त गरेको र नेपाललाई चेतावनीसमेत दिएको जिकिर गरे।

उनले चीनको आपत्तिपछि नेपालमा आयोजना गर्ने भनिएको एक अन्तर्राष्ट्रिय सम्मेलन स्थगित भएको दाबीसमेत गरे।

यद्यपि, उनले सम्मेलन कुन हो र स्थगनको औपचारिक कारण के हो भन्नेबारे विस्तृत विवरण भने दिएनन्।

बादलले तिब्बती शरणार्थी र नेपालमा रहेका तिब्बती गुम्बाहरूको गतिविधिप्रति समेत सुरक्षा चासो व्यक्त गरे। केही शोधकर्ताले तिब्बती गुम्बामा ठूलो मात्रामा ‘शक्ति सङ्ग्रह’ भइरहेको दाबी गरेको उल्लेख गर्दै उनले थप अनुसन्धान आवश्यक रहेको बताए।

उनले गत भदौमा भएका हिंसात्मक घटनाका क्रममा लुटिएका हतियारसमेत तिब्बती गुम्बामा लुकाइएको हुनसक्ने आशङ्का केही पक्षले गरेको बताए।

‘कतिपय शोधकर्ताहरूले तिब्बती गुम्बाहरूमा ठूलो मात्रामा शक्ति सङ्ग्रह भइरहेको दाबी गरेका छन्। कतिपयले त भदौमा लुटिएका हतियारहरू त्यहाँ लुकाइएको समेत आशङ्का गरेका छन्,’ बादलले भने।

नेपालले निर्वासित तिब्बतीलाई मानवीय आधारमा शरण दिएको उल्लेख गर्दै उनले उनीहरूलाई नेपालले राजनीतिक शरणार्थीका रूपमा मान्यता नदिएको बताए।

प्रधानमन्त्री कवि भएकाले कवि भावना पोखिएको हो : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार पार्टीका सांसद र मन्त्रीहरूलाई बोलाएर छलफल गरेका छन्। तर पार्टी संसदीय दलका नेता तथा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह भने बैठकमा सहभागी भएनन्।

लामिछानेले पार्टीका सांसद तथा सरकारमा रहेका मन्त्रीहरूलाई बोलाएपछि उक्त बैठकलाई लिएर रास्वपाभित्रको शक्ति सम्बन्ध र प्रधानमन्त्री शाह तथा सभापति लामिछानेबीचको सम्बन्धबारे विभिन्न चर्चा हुन थालेको छ।

रास्वपाको संसदीय दलको बैठक बोलाउने अधिकार संसदीय दलका नेता प्रधानमन्त्री शाहसँग रहने भए पनि लामिछानेले सांसद र मन्त्रीहरूलाई बोलाएर छलफल गरेपछि बैठकको वैधानिकता र प्रकृतिबारे प्रश्न उठेको हो। प्रधानमन्त्री शाह बैठकमा सहभागी नभएपछि उनीहरूबीच असन्तुष्टि बढेको अनुमानसमेत गरिएको छ।

तर सभापति लामिछानेले भने बैठकलाई लिएर भइरहेका चर्चाको खण्डन गरेका छन्। उनले बुधबारको छलफल संसदीय दलको औपचारिक बैठक नभएको स्पष्ट पारे।

सञ्चारकर्मीसँग कुरा गर्दै लामिछाप्रधानमन्त्रीज्यू कवि भएकाले कवि भावना पोखियो -रविनेले भने, ‘संसदीय दलको बैठक भए त प्रधानमन्त्रीज्यू भइहाल्नु हुन्थ्यो। तर आज चाहिँ छलफल मात्र बोलाइएको हो।’

लामिछानेले प्रधानमन्त्री शाहसँग आफ्नो सम्बन्ध बिग्रिएको भन्ने चर्चासमेत अस्वीकार गरे। पछिल्लो समय आफू र प्रधानमन्त्री शाहबीच मतभेद बढेको भन्दै सार्वजनिक रूपमा भइरहेका चर्चाप्रति उनले व्यङ्ग्यात्मक शैलीमा प्रतिक्रिया दिए।

‘दुईजनाबीच झगडा पर्‍यो भनेर लेख्नुहुन्छ, हामीलाई रमाइलो लाग्छ। तपाईंहरूको समाचारले हामीलाई अझ नजिक ल्याइरहेको छ। त्यसैले समाचार लेख्न नरोक्नुहोला,’ उनले भने।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा आफू ‘एक्लै लडिरहेको’ आशयको स्टाटस लेखेको विषयमा समेत लामिछानेलाई प्रश्न गरिएको थियो। त्यसको जवाफमा उनले शाहको अभिव्यक्तिलाई राजनीतिक असन्तुष्टिका रूपमा व्याख्या गर्न नहुने बताए।

उनले प्रधानमन्त्री शाह कवि तथा कलाकारसमेत भएकाले उनका हरेक अभिव्यक्तिको राजनीतिक अर्थ खोज्न आवश्यक नरहेको टिप्पणी गरे।

‘प्रधानमन्त्रीज्यू कवि र कलाकार पनि हो। यत्रो भिडमा पनि म एक्लो महसुस गर्न सक्दिनँ र हरेक शब्दको राजनीतिक अर्थ खोज्न हुँदैन,’ लामिछानेले भने, ‘यहाँ पार्टी सिंगै उभिएको छ, कहाँ एक्लो हुनुहुन्छ ?’

होटलका श्रमिकको १० प्रतिशत सेवा शुल्क नखोस्न सांसद अधिकारीको माग

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले होटल तथा पर्यटन क्षेत्रमा कार्यरत श्रमिकले पाउँदै आएको १० प्रतिशत सेवा शुल्कलाई निरन्तरता दिन सरकारसँग माग गरेकी छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अधिकारीले सेवा शुल्कसम्बन्धी कानुनी अन्योलका कारण होटल तथा पर्यटन क्षेत्रका श्रमिकको आम्दानी, पारिश्रमिक र सामाजिक सुरक्षामा प्रत्यक्ष असर परेको बताइन्।

उनले श्रम ऐन तत्काल संशोधन गरी १० प्रतिशत सेवा शुल्क उठाउने र श्रमिकबीच वितरण गर्ने स्पष्ट कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्।

होटल तथा पर्यटन क्षेत्रमा कार्यरत श्रमिकले लामो समयदेखि सेवा शुल्क पाउँदै आए पनि पछिल्लो समय कानुनी विवादका कारण यसको निरन्तरतामाथि अन्योल सिर्जना भएको अधिकारीको भनाइ थियो। उनका अनुसार सेवा शुल्क श्रमिकको आम्दानीसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको व्यवस्था हट्दा हजारौँ श्रमिक तथा उनीहरूमा आश्रित परिवार प्रभावित हुन सक्छन्।

‘श्रमिकको अधिकार भनेको पारिश्रमिकमा मात्र सीमित हुँदैन । उनीहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्नु पनि राज्यको दायित्व हो,’ अधिकारीले भनिन्, ‘त्यसैले श्रम ऐन तत्काल संशोधन गरेर १० प्रतिशत सेवा शुल्क उठाउने र वितरण गर्ने स्पष्ट कानुनी व्यवस्था गरिनुपर्छ।’

अधिकारीले होटल तथा पर्यटन क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षा र आर्थिक स्थायित्व सुनिश्चित गर्न सेवा शुल्कको विषयलाई स्पष्ट कानुनी आधार दिनुपर्ने बताइन्।

उनले सेवा शुल्कसम्बन्धी कानुनी अन्योल लामो समयसम्म कायम रहँदा श्रमिक र रोजगारदाता दुवै पक्षमा असमझदारी बढ्न सक्ने उल्लेख गर्दै सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिइन्।

पर्यटन क्षेत्र नेपालको अर्थतन्त्र र रोजगारीको महत्त्वपूर्ण आधार भएकाले त्यहाँ कार्यरत श्रमिकको अधिकार संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

उनले श्रमिकको हकहित सुनिश्चित हुने गरी कानुनी व्यवस्था स्पष्ट पार्दै होटल तथा पर्यटन क्षेत्रलाई मर्यादित र सुरक्षित श्रम क्षेत्रका रूपमा विकास गर्न सरकारसँग आग्रह गरिन्।

मल आउनमा ढिलाइ भएको कृषिमन्त्रीले स्वीकारिन्

काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले अन्तर्राष्ट्रिय बजारबाट मल आयात गर्नुपर्ने भएकाले आपूर्तिमा केही ढिलाइ भएको स्वीकार गरेकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकबाट बाहिरिने क्रममा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले मल आपूर्ति तथा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने बताइन्।

उनका अनुसार भारतसँग सरकार–सरकार (जीटूजी) सम्झौतामार्फत मल आयात भइरहेको छ। साउन १ गतेदेखि हालसम्म ६२ हजार मेट्रिक टन मल नेपाल भित्रिसकेको र थप ६४ हजार मेट्रिक टन मल नेपाल आउने क्रममा रहेको उनले जानकारी दिइन्।

‘भारतबाट जीटूजी गरेर मल आउने क्रममा नै छ। साउन १ देखि अहिलेसम्म ६२ हजार मेट्रिक टन ल्याएको छ। ६४ हजार मेट्रिक टन बाटोमा छ,’ मन्त्री चौधरीले भनिन्।

उनले चालु आर्थिक वर्षका लागि ठूलो परिमाणमा मल आयात गर्ने तयारी भइरहेको जानकारी दिइन्। उनका अनुसार यस आर्थिक वर्षमा करिब २ लाख ८८ हजार मेट्रिक टन मल आयात गर्ने लक्ष्य राखिएको छ।

मन्त्री चौधरीले मल अन्तर्राष्ट्रिय बजारबाट खरिद तथा ढुवानी गर्नुपर्ने भएकाले विभिन्न कारणले आपूर्तिमा समय लागेको बताइन्। मलको माग उच्च हुने समयमा आपूर्ति सहज बनाउन आयातसँगै वितरण प्रणालीलाई पनि प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।

उनले किसानले समयमै मल पाउने गरी वितरण प्रक्रियामा देखिएका समस्या समाधान गर्दै जाने प्रतिबद्धता जनाइन्।

साथै, आयात भएको मल वास्तविक किसानसम्म सहज रूपमा पुग्ने वातावरण बनाउन मन्त्रालयले आवश्यक पहल गरिरहेको बताइन्।

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार दिउँसो बैठक सुरु भएको हो। प्रधानमन्त्री शाहले दिउँसो ३ बजेका लागि बैठक बोलाएका थिए। निर्धारित समयभन्दा केही ढिला बैठक सुरु भएको हो।

बैठकमा समसामयिक विषयसँगै विभिन्न मन्त्रालयका प्रस्ताव, सरकारका कामकारबाही तथा आवश्यक प्रशासनिक निर्णयबारे छलफल हुने बताइएको छ।

बैठकमा मन्त्रिपरिषद्का सदस्यहरूले आ–आफ्ना मन्त्रालयसँग सम्बन्धित विषयसमेत प्रस्तुत गर्नेछन्।

जाजरकोटका पहिरोपीडितलाई तत्काल उद्धार र राहत दिन सांसद विकको माग

काठमाडौं। नेकपा सांसद पार्वती विकले जाजरकोटमा हालै गएको पहिरोबाट प्रभावित नागरिकहरू बिचल्लीमा परेको भन्दै तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराउँदै सांसद विकले पहिरो प्रभावित नागरिकको जिउधनको सुरक्षा गर्नु राज्यको दायित्व भए पनि सरकारले उनीहरूको समस्याप्रति पर्याप्त ध्यान नदिएको आरोप लगाइन्।

उनका अनुसार पहिरोबाट प्रभावित ८२४ जनालाई तीनवटा होल्डिङ सेन्टरमा राखिएको छ। तीमध्ये केही घाइते रहेको र बालबालिकाले समेत विद्यालय जान पाउने अवस्था नरहेको उनले बताइन्।

‘८२४ जनालाई तीन वटा होल्डिङ सेन्टरमा राखिएको छ,’ विकले भनिन्, ‘त्यहाँ घाइते पनि छन्, बच्चाबच्ची स्कुल जान पाएका छैनन् । प्लास्टिकको पालभित्र बस्नुपरेको छ । ६ सुत्केरी र ५ गर्भवती छन्।’

पहिरो प्रभावितमध्ये सुत्केरी र गर्भवती महिलासमेत अस्थायी तथा असुरक्षित अवस्थामा बस्न बाध्य भएको उल्लेख गर्दै उनले उनीहरूका लागि तत्काल स्वास्थ्य, खाद्यान्न, सुरक्षित आवासलगायत आधारभूत आवश्यकताको व्यवस्था गर्नुपर्ने बताइन्।

विकले होल्डिङ सेन्टरमा रहेका प्रभावितबाहेक अन्य कतिपय नागरिकसमेत आफन्तको घरमा शरण लिएर बस्न बाध्य भएको जानकारी दिइन्। प्राकृतिक विपत्तिबाट विस्थापित नागरिकको अवस्था दिनप्रतिदिन कठिन बन्दै गए पनि सरकार गम्भीर नदेखिएको उनको आरोप थियो।

उनले सरकारसँग नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा गर्ने संवैधानिक तथा मानवीय दायित्व रहेको स्मरण गराउँदै तत्काल प्रभावित क्षेत्रमा राज्यको उपस्थिति देखाउन माग गरिन्।

‘यस्तो अवस्थामा नागरिकको जिउधनको सुरक्षा गर्नु राज्यको दायित्व हो कि होइन, वा उनीहरूलाई त्यही पहिरोमा परेर मर्न दिनुपर्ने हो वा उद्धार गर्नुपर्ने हो ?’ उनले प्रश्न गरिन्।

सांसद विकले पहिरोबाट विस्थापित परिवारलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै घाइतेको उपचार, गर्भवती तथा सुत्केरी महिलाको विशेष स्वास्थ्य हेरचाह र बालबालिकाको शिक्षालाई निरन्तरता दिने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्।

उनले प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराएर दीर्घकालीन रूपमा सुरक्षित आवास तथा पुनःस्थापनाको व्यवस्था गर्नसमेत सरकारसँग माग गरेकी छन्।

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। बुधबार बसेको प्रदेश सभा बैठकमा भएको मतदानमा मुख्यमन्त्री भट्टको पक्षमा बहुमत मत परेपछि उनले सरकार सञ्चालनका लागि विश्वासको मत पाएका हुन्।

विश्वासको मतसम्बन्धी प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राखेपछि मतदान प्रक्रिया अघि बढाइएको थियो। मतदानमा प्रदेश सभाका ४६ जना सदस्य सहभागी भएका थिए। जसमध्ये मुख्यमन्त्री भट्टको पक्षमा ३१ मत परेको थियो भने विपक्षमा १५ मत परेको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए।

सभामुख भण्डारीले मतदानको परिणाम घोषणा गर्दै मुख्यमन्त्रीले प्रदेश सभाबाट आवश्यक बहुमतसहित विश्वासको मत प्राप्त गरेको बताए। ३१ सांसदले सरकारको पक्षमा मतदान गरेपछि मुख्यमन्त्री भट्टलाई प्रदेश सरकार सञ्चालनका लागि थप राजनीतिक आधारसमेत प्राप्त भएको छ।

विश्वासको मत प्राप्त भएसँगै मुख्यमन्त्री भट्टले प्रदेश सरकारलाई प्रभावकारी रूपमा अघि बढाउने बाटो सहज भएको छ। अब सरकारले प्रदेशका विकास निर्माण, जनजीविका र सेवा प्रवाहसँग सम्बन्धित कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने चुनौती छ।

सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय सरकारको स्थायित्व र राजनीतिक समीकरणका विषयमा विभिन्न बहस भइरहेका बेला मुख्यमन्त्री भट्टले प्रदेश सभाबाट विश्वासको मत लिएका हुन्। विश्वासको मतको परिणामले तत्कालका लागि सरकारलाई निरन्तरता दिने अवस्था बनेको छ।

प्रदेश सभा बैठकमा उपस्थित ४६ सांसदमध्ये ३१ जनाले मुख्यमन्त्रीको पक्षमा मतदान गरेकाले भट्टले स्पष्ट बहुमत प्राप्त गरेका हुन्। विपक्षमा परेको १५ मतका कारण सरकारविरुद्धको मत पनि प्रदेश सभामा उल्लेख्य रहेको देखिएको छ।

 

‘चन्द्रमाबाटै ग्यासको लाइन देखिन्छ रे!’

काठमाडौं। नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले वर्तमान सरकारको कार्यशैली र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भूमिकामाथि संसद्मा कडा आलोचना गरेका छन्।

राष्ट्रियसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पोर्तेलले सरकारका कारण जनताले विभिन्न समस्या झेल्नुपरेको र मुलुकका आर्थिक सूचकाङ्कसमेत कमजोर बन्दै गएको दाबी गरे।

उनले रास्वपाको उदय र सरकारले पाएको राजनीतिक अवसरलाई चर्चित हिन्दी गीत ‘उपरवाला जब भी देता, देता छप्पर फाड के’ सँग तुलना गर्दै व्यङ्ग्य गरे।

पोर्तेलले रास्वपाले निर्वाचनका बेला ठूलो संख्यामा सिट जितेर धेरै काम गर्ने दाबी गरे पनि जनताले उसको कार्यसम्पादनलाई अपेक्षाअनुसार नपाएको आरोप लगाए।

‘अरू बेला दुई–तीन मिनेट बोल्न पाउने, आज १५ मिनेट पाएँ, मलाई रास्वपाको जस्तै लाग्यो,’ उनले भने, ‘उहाँहरूले १८२ सिट ल्याए, १०० वटा काम गर्छु भन्नुभएको थियो, तर जनताले मूल्याङ्कनमा डी ग्रेड मात्र दिएका छन्।’

सांसद पोर्तेलले पछिल्लो समय बजारमा देखिएको एलपी ग्यासको अभावलाई समेत सरकारको कार्यशैलीसँग जोडेर आलोचना गरे। उनका अनुसार सर्वसाधारणले खाना पकाउन आवश्यक ग्यास तथा दाउरासमेत सहज रूपमा पाउन नसक्ने अवस्था सिर्जना भएको छ।

उनले व्यङ्ग्य गर्दै सरकारले इन्डक्सन चुलो प्रयोग गर्न प्रोत्साहन गरे पनि विद्युत् आपूर्ति भरपर्दो हुन नसकेको बताए।

‘चन्द्रमाबाट हेर्दा चीनको ग्रेट वाल देखिन्थ्यो रे, अहिले त नेपालको ग्यासको लाइन पनि देखिन थाल्यो रे,’ पोर्तेलले भने।

उनले सरकारका नीति तथा कामकारबाहीले जनतालाई राहत दिन नसकेको दाबी गर्दै दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति, विद्युत् तथा अन्य आधारभूत सेवामा सुधार गर्न सरकार गम्भीर हुनुपर्ने बताए।

‘४० लाख सिलिन्डर भित्रिँदा पनि ग्यासको हाहाकार किन?’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले बजारमा एलपी ग्यासको आपूर्ति बढेको तथ्याङ्क हुँदाहुँदै पनि उपभोक्ताले अभाव झेल्नुपरेको भन्दै सरकारसँग प्रश्न गरेका छन्।

बुधबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकमा सांसदहरूले वैशाखको तुलनामा साउनमा ग्यासको आपूर्ति उल्लेख्य रूपमा बढेको देखिए पनि बजारमा अभाव किन कायम रह्यो भन्ने विषय उठाएका हुन्।

सांसदहरूले वैशाखमा बजारमा करिब २२ लाख सिलिन्डर ग्यास आपूर्ति भएकोमा साउनमा उक्त मात्रा बढेर करिब ४० लाख सिलिन्डर पुगेको तथ्याङ्क प्रस्तुत गर्दै आपूर्ति बढेको अवस्थामा समेत उपभोक्ताले ग्यास नपाउनुको कारणबारे प्रश्न गरेका थिए।

बैठकमा ग्यास अभावका कारण उपभोक्ताले भोगिरहेको समस्या, आपूर्ति प्रणालीमा देखिएका कमजोरी तथा बजार व्यवस्थापनबारे सांसदहरूले मन्त्रीहरूसँग जानकारी मागेका थिए।

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार मन्त्रीहरूले ग्यास अभाव हुनुका प्राविधिक तथा व्यवस्थापकीय कारणबारे सांसदहरूलाई जानकारी गराएका थिए। साथै, समस्या समाधानका लागि सरकारले गरिरहेको पहल र आगामी योजनाबारे पनि मन्त्रीहरूले बैठकमा जानकारी दिएका थिए।

ग्यासको आपूर्ति र वितरण प्रणालीमा देखिएको समस्या तत्काल समाधान गर्नुपर्नेमा बैठकमा जोड दिइएको थियो। सांसदहरूले बजारमा पर्याप्त ग्यास उपलब्ध रहेको भनिए पनि उपभोक्ताले बिक्री केन्द्रमा खाली सिलिन्डर लिएर पुग्दा ग्यास नपाउने अवस्था अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

बैठकले रास्वपा संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ।

संसदीय दलका प्रमुख सचेतकको संयोजकत्वमा विधान संशोधन कार्यदल गठन गरिएको उपनेता पराजुलीले जानकारी दिए। कार्यदललाई सात दिनभित्र विधान संशोधनको प्रस्तावसहित आवश्यक प्रतिवेदन तथा कार्यविधि तयार गर्ने जिम्मेवारी दिइएको छ।

समयअनुकूल रूपमा संसदीय दलको कामकारबाहीलाई व्यवस्थित बनाउन विधान संशोधन गर्न लागिएको रास्वपाले जनाएको छ।

संशोधित विधानमार्फत सांसदहरूको जिम्मेवारी थप स्पष्ट पार्ने, संसद् बैठकमा उपस्थित हुँदा संसदीय मर्यादा र अनुशासन कायम गराउने तथा सांसदहरूलाई जनताका विषय संसद्मा प्रभावकारी रूपमा उठाउन थप सक्रिय बनाउने उद्देश्य राखिएको छ।

त्यस्तै, कानुन निर्माण प्रक्रियामा सांसदहरूको भूमिका प्रभावकारी बनाउने र संसदीय दलको कामलाई थप व्यवस्थित गर्ने विषयलाई पनि विधान संशोधनमा समेटिने बताइएको छ।

बैठकमा रास्वपाबाट सरकारमा सहभागी मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयबाट भएका काम, प्रगति तथा पछिल्ला गतिविधिबारे संसदीय दललाई जानकारी गराएका थिए।

मन्त्रीहरूको विवरणपछि सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रमा देखिएका समस्या र जनताबाट प्राप्त गुनासाबारे जानकारी गराएका थिए। उनीहरूले सरकारका कामकारबाहीमा देखिएका कमजोरी तथा सुधार गर्नुपर्ने पक्षबारे समेत धारणा राखेका थिए।

विशेषगरी सरकारका निर्णय र कामको प्रभाव जनतासम्म कसरी पुगेको छ भन्ने विषयमा बैठकमा समीक्षा गरिएको थियो।

उपनेता पराजुलीका अनुसार सरकारले विभिन्न क्षेत्रमा काम गरिरहेको भए पनि त्यसको प्रभावकारी जानकारी र सन्देश आम नागरिकसम्म पुग्न नसकेको विषयमा आत्मसमीक्षा गरिएको थियो।

बैठकमा सरकारका कामलाई जनतासँग प्रत्यक्ष जोड्ने, सांसदहरूको भूमिकालाई थप प्रभावकारी बनाउने र जनताका गुनासा तथा समस्यालाई सरकारसम्म पुर्‍याएर समाधानको पहल गर्ने विषयमा समेत छलफल भएको थियो।

ग्यास अभावजस्तो प्रत्यक्ष रूपमा नागरिकको दैनिक जीवनसँग जोडिएको विषयलाई संसदीय दलको बैठकमा प्राथमिकताका साथ उठाइनुले रास्वपाभित्र सरकारको सेवा प्रवाह र बजार व्यवस्थापनबारे पनि चासो बढेको देखिएको छ।

तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या

बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ सिमरामा मृत अवस्थामा भेटिएकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले बालिकालाई चकलेटको प्रलोभन देखाएर फकाई घटनास्थलमा लगिएको र त्यहाँ जबर्जस्ती करणीपछि हत्या गरिएको जनाएको छ।

प्रहरीका अनुसार मंगलबार साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठामा बालिका मृत अवस्थामा फेला परेको सूचना प्राप्त भएको थियो।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी दिलीप क्षेत्रीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय बाराबाट एसपी नरेन्द्र कुँवरको कमाण्डमा समेत थप प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रदेश प्रहरी कार्यालय वीरगन्जबाट तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोलीसमेत परिचालन गरिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा मृतक बालिका जितपुरसिमरा–१ दसधुरी बस्ने मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी रहेको खुलेको प्रहरीले जनाएको छ।

गरिमा साउन ३१ गते बिहान करिब ८ः३० बजेदेखि घरबाट हराएकी थिइन्। परिवारले खोजी गरिरहे पनि उनी भेटिएकी थिइनन्। पछि प्रहरीले अनुसन्धान अघि बढाउने क्रममा भक्तिनगरस्थित खाली कोठामा उनको शव फेला पारेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक जितपुरसिमरा–२ बस्ने करिब १६ वर्षीय सुमन थापाले बालिकालाई चकलेट दिने प्रलोभन देखाएर फकाई घटनास्थलमा लगेका थिए। त्यहाँ बालिकामाथि जबर्जस्ती करणी गरी हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुमन थापासहित म्याजिकका धनी जितपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ। उनीहरूमाथि घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको तथा घटनाको सम्पूर्ण कारण र परिस्थितिबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ। घटनास्थलबाट आवश्यक प्रमाण सङ्कलन गर्नुका साथै तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान अघि बढाइएको छ।

मृतक बालिकाको शव पोस्टमार्टम तथा थप कानुनी प्रक्रियाका लागि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। पोस्टमार्टम तथा अनुसन्धानबाट घटनाका थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।

‘भोट फिर्ता लैजानुस्’ भन्ने अभिव्यक्ति जोक भएको गृहमन्त्रीको दाबी

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले केही दिनअघि आफ्नो निर्वाचन क्षेत्र गोरखा-१ का मतदातालाई ‘भोट फिर्ता लैजानुस्’ भनेर दिएको अभिव्यक्ति गम्भीर राजनीतिक टिप्पणी नभई ठट्टाका रूपमा गरिएको बताएका छन्।

बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको पार्टी बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीले उक्त अभिव्यक्तिबारे प्रश्न गरेपछि गुरुङले आफूले मतदातासँग मजाक गरेको स्पष्टीकरण दिएका हुन्।

सञ्चारकर्मीको प्रश्नमा उनले आफ्ना मतदातासँग ठट्टा गर्न नहुने हो र भन्दै प्रतिप्रश्नसमेत गरे। उनले भने, ‘आफ्नो भोटरसँग जोक गर्न हुँदैन त ?’

गुरुङको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा विभिन्न टिप्पणी भइरहेका बेला उनले आफ्नो भनाइलाई सामान्य ठट्टाका रूपमा व्याख्या गरेका हुन्।

निर्वाचन क्षेत्रका मतदाताले दिएको मतकै आधारमा आफू जनप्रतिनिधिका रूपमा निर्वाचित भएको अवस्थामा ‘भोट फिर्ता लैजानुस्’ भन्ने अभिव्यक्ति दिएको भन्दै उनको आलोचना भएको थियो। त्यसपछि उनले सार्वजनिक रूपमा आफ्नो भनाइको आशय स्पष्ट पारेका हुन्।

बुधबारको पार्टी बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले आफूले मतदातालाई गम्भीर रूपमा अपमान गर्न खोजेको नभई रमाइलोका क्रममा उक्त अभिव्यक्ति दिएको दाबी गरे।

बिजुलीको महसुल घटाउँदै सरकार ?

काठमाडौं। सरकारले उपभोक्ता र उद्योगलाई सहुलियत हुने गरी बिजुलीको महसुल घटाउने गृहकार्य अघि बढाएको छ।

वर्षायाममा विद्युत् उत्पादन बढेर खेर जाने अवस्था रहेकाले आन्तरिक खपत बढाउन महसुल पुनरावलोकन गर्ने तयारी गरिएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ गते विद्युत् महसुल दर पुनरावलोकन गर्न समिति गठन गरिएको थियो।

नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घ, ऊर्जाविज्ञ, उपभोक्ता तथा वित्तविज्ञका प्रतिनिधि सदस्य छन्।

समितिको बैठक बुधबार अपराह्न ४ बजे ऊर्जा मन्त्रालयमा बस्ने तय भएको छ। बैठकमा विद्युत् महसुल कसरी घटाउने र वर्षायाममा बढी हुने विद्युत्को खपत कसरी बढाउने भन्ने विषयमा छलफल हुने बताइएको छ।

समितिका संयोजक शाहीका अनुसार वर्षायाममा विद्युत् उत्पादन बढ्दा ठूलो परिमाणमा बिजुली खेर जाने गरेको छ। उत्पादन भएको बिजुली आन्तरिक बजारमै बढी खपत गराउन महसुलमा सहुलियत दिने तयारी गरिएको हो।

यसका लागि ‘सिजनल ट्यारिफ’ अर्थात् मौसमअनुसार फरक महसुल लागू गर्ने विषयमा छलफल भइरहेको छ। वर्षायाममा बिजुलीको महसुल घटाएर उद्योग तथा घरायसी उपभोक्ताको खपत बढाउने सरकारको योजना छ।

शाहीले वर्षायाममा सस्तो दरमा बिजुली उपलब्ध गराउँदा उद्योगको उत्पादन लागतसमेत घट्ने र त्यसको लाभ अन्ततः उपभोक्तासम्म पुर्‍याउन सकिने बताए।

उद्योगलाई दिइने सहुलियतको प्रभाव उत्पादनको मूल्यमा कसरी देखाउन सकिन्छ भन्ने विषयमा समेत छलफल भइरहेको उनले जानकारी दिए। उद्योगले सस्तो बिजुली पाएपछि उत्पादन लागत घट्दा उपभोक्ताले खरिद गर्ने वस्तुको मूल्यसमेत कम गर्न सकिने सम्भावनाबारे समितिले अध्ययन गरिरहेको छ।

‘सिजनल ट्यारिफ गर्दा पैसा कसरी घटाउन सकिन्छ भनेर आज मन्त्रालयमा बैठक बस्दैछ,’ शाहीले भने, ‘वर्षायामको सिजनल ट्यारिफ सस्तो हुँदा उद्योगहरूले पनि आफ्नो उत्पादनमा उपभोक्तालाई कसरी सहुलियत दिन्छन् भनेर छलफल भएको छ। हामी छिटै निर्णय गर्छौँ।’

नेपालमा वर्षायाममा जलविद्युत् उत्पादन उल्लेख्य बढ्ने तर सोही अनुपातमा आन्तरिक खपत बढ्न नसक्दा विद्युत् खेर जाने समस्या देखिँदै आएको छ। यस्तो अवस्थामा महसुल घटाएर विद्युत्को माग बढाउने र उपलब्ध बिजुलीलाई स्वदेशमै अधिकतम उपयोग गर्ने सरकारको उद्देश्य छ।

सरकारले विद्युत् महसुल तथा करसम्बन्धी विषयमा आलोचना खेपिरहेका बेला ऊर्जा मन्त्रालयले भने उपभोक्तालाई प्रत्यक्ष राहत पुग्ने गरी महसुल पुनरावलोकनको तयारी अघि बढाएको हो।

समितिले विभिन्न पक्षसँग छलफल गरेर सिजनल ट्यारिफको दर, लागू हुने अवधि, उद्योग तथा घरायसी उपभोक्तालाई दिइने सहुलियत र त्यसबाट प्राधिकरणको आम्दानीमा पर्ने प्रभावबारे अध्ययन गर्नेछ।

समितिको सिफारिसका आधारमा विद्युत् महसुल घटाउने वा नयाँ दर लागू गर्ने विषयमा निर्णय हुने बताइएको छ।

महाकाली नदीमा एक हजार २२० मिटर पक्की तटबन्ध निर्माण

कञ्चनपुर । महाकाली नदीको बाढीबाट हुने क्षति न्यूनीकरण गर्न कञ्चनपुरमा एक हजार २२० मिटर पक्की तटबन्ध निर्माण सम्पन्न भएको छ। तटबन्ध निर्माणपछि नदी किनारका बस्ती तथा खेतीयोग्य जमिनलाई बाढी र कटानबाट जोगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय, कञ्चनपुरले ११ करोड ६५ लाख रुपैयाँ खर्च गरेर तटबन्ध निर्माण गरेको हो। बर्सेनि महाकाली र जोगबुढा नदीको बाढीबाट प्रभावित हुँदै आएका बस्तीलाई सुरक्षित बनाउन तटबन्ध निर्माण गरिएको कार्यालयले जनाएको छ।

आयोजना प्रमुख रञ्जनराज भट्टराईका अनुसार दोधारा चाँदनी नगरपालिकास्थित महाकाली नदीमा ५०७ मिटर र जोगबुढा नदीमा २५५ मिटर तटबन्ध निर्माण गरिएको छ। त्यस्तै भीमदत्त नगरपालिका र दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल क्षेत्रनजिक ४५८ मिटर आरसिसी तटबन्ध निर्माण गरिएको छ।

तटबन्ध निर्माणको सबैभन्दा ठूलो लाभ दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर बस्तीलाई पुगेको छ। महाकाली र जोगबुढा नदीको दोसाँधमा रहेको उक्त बस्ती बर्सेनि बाढीको उच्च जोखिममा पर्दै आएको थियो।

कुतियाकवर बस्तीको संरक्षणका लागि मात्रै ७६२ मिटर तटबन्ध निर्माण गरिएको आयोजनाले जनाएको छ। पूर्वतर्फ महाकाली र उत्तरतर्फ जोगबुढा नदी रहेकाले दुवै नदीमा पानीको बहाव बढ्दा बस्तीमा बाढी पस्ने तथा नदी कटान हुने समस्या थियो।

तटबन्ध निर्माण भएपछि बस्ती तथा आसपासका खेतीयोग्य जमिनको संरक्षणमा सहज हुने स्थानीयको अपेक्षा छ। बाढीका कारण वर्षेनी हुने भौतिक तथा कृषि क्षेत्रमा हुने क्षति घटाउन पनि तटबन्ध महत्वपूर्ण हुने देखिएको छ।

यसैबीच, महाकाली नदी नियन्त्रण तथा व्यवस्थापनका लागि पुराना संरचनाको मर्मतसम्भारको काम पनि नियमित रूपमा भइरहेको आयोजनाले जनाएको छ। महाकाली नदीमा निर्माण गरिएको करिब २५ वर्ष पुरानो तटबन्ध जीर्ण हुँदै गएपछि कार्यालयले आवश्यक मर्मत तथा संरक्षणका काम गर्दै आएको छ।

उत्तर कोरियाले परीक्षण गर्‍यो ५ हजार टनको युद्धपोत, किमले हेरे मिसाइल प्रक्षेपण

काठमाडौं । उत्तर कोरियाले ५ हजार टन क्षमताको नयाँ विध्वंसक युद्धपोत ‘काङ कोन’को हतियार परीक्षण गरेको छ। राज्य सञ्चालित कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)का अनुसार शुक्रबार गरिएको परीक्षणमा क्रुज मिसाइल प्रक्षेपणसँगै विद्युतीय युद्ध प्रणालीको समेत परीक्षण गरिएको हो।

नेता किम जोङ उनले परीक्षणको प्रत्यक्ष निरीक्षण गर्दै युद्धपोतलाई थप परीक्षण पूरा गरेर दुई महिनाभित्र नौसेनामा हस्तान्तरण गर्न निर्देशन दिएका छन्। परीक्षणका क्रममा किमले पहेँलो टोपी लगाएर समुद्री क्षेत्रको अग्लो स्थानबाट मिसाइल प्रक्षेपण अवलोकन गरेको तस्वीर केसीएनएले सार्वजनिक गरेको छ।

‘काङ कोन’ गत वर्ष परीक्षणकै क्रममा दुर्घटनामा परेको थियो। किमकै उपस्थितिमा गरिएको पानी परीक्षणका क्रममा जहाज आंशिक रूपमा पल्टिएपछि त्यसमा क्षति पुगेको थियो। घटनापछि किमले दुर्घटनालाई गम्भीर लापरवाही र गैरजिम्मेवारीको परिणाम भन्दै दोषीमाथि कारबाही गर्न निर्देशन दिएका थिए।

मर्मतपछि पुनः परीक्षण गरिएको यो युद्धपोत अर्को ५ हजार टनको विध्वंसक ‘चोए ह्योन’ नौसेनामा प्रवेश गरेको दुई साताभन्दा कम समयपछि परीक्षण गरिएको हो।

‘चोए ह्योन’लाई सैन्य सेवामा प्रवेश गराउने क्रममा किमले उत्तर कोरियाको नौसेनालाई आणविक हतियारले सुसज्जित बनाउने र १० हजार टनसम्मका नयाँ युद्धपोत विकास गर्ने योजना सार्वजनिक गरेका थिए।

केसीएनएका अनुसार पछिल्लो परीक्षणपछि किमले उत्तर कोरियाको युद्ध प्रतिरोधात्मक क्षमता अझ बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। उनले देशको सैन्य शक्ति प्रदर्शनलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

नेपालसँग खेल्ने भिक्टोरिया सीए-११ को बलियो टोली घोषणा

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा आयोजना हुने टप एन्ड टी-२० सिरिजका लागि भिक्टोरिया सीए-११ ले बलियो टोली घोषणा गरेको छ। टोलीमा बिग ब्यास लिग खेलिसकेका तथा अस्ट्रेलियाबाट टेस्ट र एकदिवसीय क्रिकेट खेलेका खेलाडीसमेत समेटिएका छन्।

विल सदरल्यान्डको कप्तानीमा रहेको भिक्टोरियाले सिरिजमा नेपालको ए टोलीसँग पनि प्रतिस्पर्धा गर्नेछ। नेपाल र भिक्टोरिया सीए–११ बीच अगस्ट २९ मा खेल हुनेछ।

सदरल्यान्ड अस्ट्रेलियाका लागि एकदिवसीय खेलिसकेका अलराउन्डर हुन्। उनी बिग ब्यास लिगमा मेलबर्न रेनेगेड्सको कप्तानीसमेत गर्दै आएका छन्।

यस्तै, टोलीमा अस्ट्रेलियाका लागि टेस्ट क्रिकेट खेलिसकेका अफस्पिनर टोड मर्फी पनि छन्। मर्फी भिक्टोरियाको बलिङ आक्रमणका प्रमुख खेलाडीमध्ये एक हुन्।

भिक्टोरियाको टोलीमा बिग ब्यास लिगका चर्चित खेलाडी साम हार्पर, ह्यारी डिक्सन, टम रोजर्स, क्यालम स्टो र क्याम्पबेल केलावेको पनि उपस्थिति छ। उनीहरूको उपस्थितिले नेपालविरुद्धको खेललाई थप प्रतिस्पर्धात्मक बनाउने देखिन्छ।

भिक्टोरिया सीए-११ : विल सदरल्यान्ड (कप्तान), माइकल आर्चर, अस्टिन एन्जेलजार्क, लियाम ब्ल्याकफोर्ड, ह्यारी डिक्सन, साम इलियट, साम हार्पर, ह्यारी होक्स्ट्रा, क्याम्पबेल केलावे, ब्लेक म्याकडोनाल्ड, टोड मर्फी, टम रोजर्स, आर्यन शर्मा, क्यालम स्टो र ब्रोडी सिमोन्स।

राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ तान्दै, बैंकलाई आजै बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न ३५ अर्ब रुपैयाँ निक्षेपका रूपमा तान्ने भएको छ। त्यसका लागि केन्द्रीय बैंकले १८० दिन अवधिको निक्षेप सङ्कलन उपकरण निष्कासन गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ। यस उपकरणको ब्याजदर भने बोलकबोलबाटै तय हुनेछ। निक्षेपको साँवा तथा ब्याज आगामी फागुन ३ गते भुक्तानी गरिनेछ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागिता जनाउन पाउनेछन्। सहभागी संस्थाले आफूले राख्न चाहेको रकम र त्यसमा अपेक्षा गरेको ब्याजदर उल्लेख गर्नुपर्नेछ।

एक संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि १० करोडले भाग जाने रकमसम्म बोल गर्न सक्ने व्यवस्था गरिएको छ। आह्वान गरिएको रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिइनेछ। समान ब्याजदरमा प्रस्तावित रकम कुल निष्कासनभन्दा बढी भएमा अनुपातका आधारमा रकम बाँडफाँट गरिनेछ।

राष्ट्र बैंकको खुला बजार कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार प्राप्त बोलमध्ये सबै वा केही स्वीकार गर्न वा अस्वीकार गर्न सक्नेछ। स्वीकृत रकम सम्बन्धित संस्थाको राष्ट्र बैंकस्थित खाताबाट कट्टा गरी छुट्टै निक्षेप खातामा जम्मा गरिनेछ।

निक्षेप निष्कासनका दिन स्वीकृत रकम बराबर खातामा पर्याप्त मौज्दात नभए सम्बन्धित बैंक तथा वित्तीय संस्थामाथि कारबाही हुने राष्ट्र बैंकले जनाएको छ। त्यस्तो संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुनसमेत रोक लगाइनेछ।

१८० दिनपछि भुक्तानी गर्दा राष्ट्र बैंकले तोकिएको ब्याजसहित निक्षेप रकम सम्बन्धित संस्थाको खातामा फिर्ता गर्नेछ। राष्ट्र बैंकका अनुसार यस्तो निक्षेपलाई बैंक तथा वित्तीय संस्थाको लगानी पोर्टफोलियोमा समावेश गर्न सकिनेछ। तर अनिवार्य नगद मौज्दात (सीआरआर) मा भने गणना गर्न पाइने छैन।

यस्तो रकम राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिने व्यवस्था छ।

महाधिवेशन रोक्न सर्वोच्च जाँदै कांग्रेस इतर समूह

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरेको छ।

पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा संस्थापन पक्षले एकतर्फी रूपमा महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेपछि इतर समूहले कानुनी उपचार खोज्ने निर्णय गरेको हो।

संस्थापन इतर समूहले अदालतमा विचाराधीन विवादको अन्तिम टुङ्गो नलागेसम्म महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाउन नहुने बताउँदै आएको छ। तर कांग्रेस संस्थापन पक्षले महाधिवेशनको प्रक्रिया अघि बढाउन नयाँ कार्यतालिका सार्वजनिक गरेपछि दुई पक्षबीचको विवाद थप चर्किएको हो।

संस्थापन इतर समूहका नेता डा. प्रकाशशरण महतले अदालतले पार्टीको विवादसम्बन्धी मुद्दालाई पुनरावलोकनका लागि अनुमति दिइसकेको अवस्थामा महाधिवेशन प्रक्रिया अघि बढाउनु उचित नभएको बताए।

‘अदालतले मुद्दालाई सुरुबाटै हेर्ने भनेपछि पनि अधिवेशनको काम अगाडि बढाउनु भनेको अदालतको निर्णयको अवहेलना गर्नु हो,’ महतले भने, ‘यस्तो अवस्थामा हामी यो विषयलाई कानुनी र राजनीतिक दुवै कोणबाट सामना गर्छौँ।’

महतले संस्थापन पक्षले पार्टीभित्र सबै पक्षलाई समेटेर अघि बढ्नुभन्दा निषेधको राजनीति गर्न खोजेको आरोपसमेत लगाए। उनका अनुसार पार्टीको वैधानिकता र सांगठनिक संरचनासम्बन्धी विवाद समाधान नभई महाधिवेशन प्रक्रिया अघि बढाउँदा त्यसबाट थप जटिलता सिर्जना हुन सक्छ।

सर्वोच्च अदालतले गत साउन २१ गते कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा पुनरावलोकनका लागि अनुमति दिएको थियो। सर्वोच्चको उक्त आदेशपछि कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा पुनः सुरुदेखि सुनुवाइ हुने बाटो खुलेको थियो।

इतर समूहले यही विषयलाई आधार बनाएर अदालतको अन्तिम निर्णय नआएसम्म पार्टीको महाधिवेशन प्रक्रिया रोक्नुपर्ने माग गर्दै आएको छ।

इतर समूहको तर्कमा अदालतमा विचाराधीन मुद्दाले पार्टीको वैधानिकता, सांगठनिक संरचना र महाधिवेशनसँग सम्बन्धित विषयमा प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले त्यसको निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु जोखिमपूर्ण हुन्छ।

तर संस्थापन पक्षले भने पार्टीको नियमित सांगठनिक प्रक्रिया रोक्न नहुने धारणा राख्दै महाधिवेशनको तयारी अघि बढाएको छ। यही विषय अहिले कांग्रेसभित्रको मुख्य विवादका रूपमा देखिएको छ।

यसअघि संस्थापन इतर समूहको राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले साउन २६ गते निर्वाचन आयोग र कांग्रेस केन्द्रीय कार्यालयलाई छुट्टाछुट्टै पत्र पठाएका थिए।

पत्रमार्फत उनले अदालतमा विचाराधीन विवादको अन्तिम फैसला नआएसम्म महाधिवेशनसम्बन्धी कुनै पनि गतिविधि अघि नबढाउन आग्रह गरेका थिए।

इतर समूहले अदालतको गरिमा र कानुनी प्रक्रियालाई सम्मान गर्नुपर्ने बताउँदै पार्टीका सम्पूर्ण सांगठनिक संरचनालाई साविककै अवस्थामा कायम राख्नुपर्ने माग गरेको थियो।

त्यस्तै, पार्टीको दीर्घकालीन सांगठनिक तथा आर्थिक अवस्थामा प्रभाव पार्ने कुनै पनि नीतिगत वा आर्थिक निर्णय नगर्नसमेत आग्रह गरिएको थियो।

इतर समूहले महाधिवेशनको प्रक्रिया अघि बढाउँदा पार्टीभित्रको विवाद झन् जटिल बन्ने र भविष्यमा हुने निर्णयको वैधानिकतामाथि समेत प्रश्न उठ्न सक्ने बताउँदै आएको छ।

अदालतमा विवाद विचाराधीन रहेको अवस्थामा कांग्रेसले मंगलबार १५औँ महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको हो। संस्थापन पक्षले महाधिवेशनको प्रक्रिया अघि बढाउने तयारी तीव्र बनाएपछि इतर समूह थप सशङ्कित बनेको छ।

इतर समूहका नेताहरूका अनुसार अदालतमा मुद्दा विचाराधीन हुँदाहुँदै महाधिवेशनको प्रक्रिया अघि बढाउनु उचित छैन। उनीहरूले पहिले कानुनी विवादको निरूपण गर्नुपर्ने र त्यसपछि मात्र पार्टीको महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका छन्।

यस विषयमा संस्थापन पक्षसँग राजनीतिक रूपमा सहमति जुट्ने सम्भावना कम देखिएपछि इतर समूहले अदालतको ढोका ढकढक्याउने निर्णय गरेको हो।

महाधिवेशन प्रक्रिया रोक्नका लागि आवश्यक कानुनी तयारी गर्न इतर समूहले नेता रमेश लेखकको संयोजकत्वमा कानुन तथा विधान समिति गठन गरेको छ।

समितिले अदालतमा पेश गर्ने रिटको विषयवस्तु तथा कानुनी आधारबारे छलफल गरिरहेको नेताहरूले बताएका छन्। अबको एक–दुई दिनभित्रै सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी भइरहेको उनीहरूको भनाइ छ।

रिटमार्फत अदालतमा विचाराधीन आधिकारिकता विवादको अन्तिम टुङ्गो नलागेसम्म महाधिवेशनसम्बन्धी गतिविधि रोक्न आदेश माग गरिने तयारी छ।

इतर समूहले महाधिवेशनको कार्यतालिका मात्र नभई त्यससँग जोडिएका सांगठनिक प्रक्रिया, अधिवेशनका तयारी तथा अन्य गतिविधिसमेत तत्काल रोक्न माग गर्ने तयारी गरेको बताइएको छ।

कांग्रेसभित्र लामो समयदेखि संस्थापन र संस्थापन इतर समूहबीच सांगठनिक तथा राजनीतिक विषयमा मतभेद रहँदै आएको छ। पछिल्लो विवाद भने महाधिवेशनको प्रक्रियासँग जोडिएपछि थप गम्भीर बनेको छ।

संस्थापन पक्षले पार्टीको नियमित प्रक्रिया र महाधिवेशनलाई निर्धारित समयमा अघि बढाउनुपर्नेमा जोड दिँदै आएको छ। इतर समूह भने पार्टीको वैधानिकता र महाधिवेशनसम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकाले तत्काल प्रक्रिया अघि बढाउन नहुने पक्षमा छ।

दुवै पक्ष आ-आफ्नो अडानमा कायम रहेमा विवाद राजनीतिक तहबाट समाधान हुन नसकी कानुनी प्रक्रियामै जाने सम्भावना बढेको छ।

इतर समूह सर्वोच्च पुगेपछि अदालतले महाधिवेशन प्रक्रिया रोक्ने आदेश दिन्छ वा प्रक्रिया अघि बढाउन बाटो खुला गर्छ भन्ने विषय कांग्रेसको आगामी राजनीतिक दिशाका लागि महत्वपूर्ण हुनेछ।

इतर समूहले अदालतको अन्तिम निर्णयअघि महाधिवेशन सम्पन्न गरिएमा त्यसबाट निर्वाचित हुने नयाँ नेतृत्व तथा केन्द्रीय संरचनाको वैधानिकतामाथि भविष्यमा प्रश्न उठ्न सक्ने तर्क गरेको छ।

त्यसैले पहिले अदालतमा विचाराधीन आधिकारिकता विवादको टुङ्गो लगाएर मात्र महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने उनीहरूको भनाइ छ।

संस्थापन पक्षले भने महाधिवेशन प्रक्रिया रोकिराख्दा पार्टीको सांगठनिक जीवन प्रभावित हुने र आन्तरिक लोकतान्त्रिक अभ्यास कमजोर हुने तर्क गर्न सक्छ। यही दुई फरक धारणाबीच कांग्रेसको विवाद अहिले अदालतसम्म पुग्ने अवस्थामा पुगेको हो।

अब इतर समूहले सर्वोच्च अदालतमा दायर गर्ने रिट र त्यसमा अदालतले दिने प्रारम्भिक आदेशले कांग्रेसको १५औँ महाधिवेशनको आगामी प्रक्रिया प्रभावित हुने देखिएको छ।

बाजुरामा ग्यासको हाहाकार

काठमाडौं। देशभर ग्यासको अभाव भइरहेका बेला बाजुरामा पनि खाना पकाउने एलपी ग्यासको अभाव भएको छ।

सदरमुकाम मार्तडीसहित कोल्टी, पिलुचौर र बाम्कालगायत क्षेत्रमा उपभोक्ताले समस्या भोगिरहेका छन्।

ग्यास लिन दैनिक बिक्री केन्द्र धाउनुपरे पनि रित्तो फर्किनुपर्ने अवस्था रहेको स्थानीय पवित्रा बोहराले बताइन्। ग्यास नपाउँदा उपभोक्ता दाउरा तथा अन्य वैकल्पिक इन्धन प्रयोग गर्न बाध्य भएका छन्। विशेषगरी डेरामा बस्ने विद्यार्थी र कर्मचारी बढी प्रभावित भएका छन्।

मार्तडी क्षेत्रमा मात्रै मासिक १० हजारभन्दा बढी सिलिन्डर ग्यासको माग रहेको व्यवसायी बताउँछन्। रेडियन्ट, मनकामना, भेरी र साइपाल कम्पनीका ग्यास बिक्री हुँदै आए पनि पछिल्लो एक सातादेखि अभाव चर्किएको हो।

व्यवसायी प्रकाश थापाका अनुसार भेरी र मनकामना ग्यास कम्पनीबाट पर्याप्त आपूर्ति हुन सकेको छैन। धनगढीस्थित रेडियन्ट ग्यास कम्पनीमा खाली सिलिन्डर पठाइएको र आइतबारसम्म आपूर्ति हुने अपेक्षा गरिएको उनले बताए।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले ग्यास अभाव समाधानका लागि अन्य जिल्लाका प्रशासनसँग समन्वय भइरहेको बताए। बाँकेका प्रमुख जिल्ला अधिकारीसँग भेरी ग्यास उपलब्ध गराउन आग्रह गरिएको उनको भनाइ छ।

उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष चक्र रोकायाले सडक तथा ढुवानी समस्याका कारण पनि ग्यास आपूर्तिमा कठिनाइ हुने गरेको बताए।

उनले कालोबजारी रोक्न जिल्लाको माग, मौज्दात र आपूर्तिको नियमित अनुगमन गरी उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउनुपर्नेमा जोड दिए।

कठघरामा मेटा

काठमाडौं। फेसबुक र इन्स्टाग्राम सञ्चालन गर्ने कम्पनी मेटाले बालबालिकालाई जानाजानी सामाजिक सञ्जालको लत लगाउने गरी आफ्ना प्लेटफर्म विकास गरेको आरोपमा अमेरिकामा कानुनी चुनौतीको सामना गरिरहेको छ।

क्यालिफोर्नियाको ओकल्यान्डस्थित अदालतमा मंगलबार सुरु भएको सुनुवाइमा अमेरिकाका विभिन्न राज्यका अभियोजनकर्ताले मेटाले बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यमा पर्न सक्ने नकारात्मक प्रभावबारे जानकारी हुँदाहुँदै पनि आफ्नो प्लेटफर्मको प्रयोग बढाउने रणनीति अपनाएको आरोप लगाएका छन्।

यो मुद्दा मेटाले सामना गरिरहेको अहिलेसम्मकै महत्वपूर्ण कानुनी चुनौतीमध्ये एक मानिएको छ। सुनुवाइमा अमेरिकी राज्यका अभियोजनकर्ता र मेटाका कानुनी प्रतिनिधिले करिब छ सातासम्म आफ्ना तर्क र प्रमाण प्रस्तुत गर्नेछन्।

मुद्दा सन् २०२३ मा न्यूयोर्क, क्यालिफोर्नियासहित अमेरिकाका २९ राज्यले संयुक्त रूपमा दायर गरेको मुद्दाका आधारमा अघि बढेको हो। ती राज्यहरूले मेटाले बालबालिकाको गोपनीयता संरक्षणसँग सम्बन्धित संघीय तथा राज्यस्तरीय कानुन उल्लङ्घन गरेको दाबी गरेका छन्।

क्यालिफोर्निया राज्यका वकिलहरूले मेटालाई ११ र १२ वर्षका ठूलो सङ्ख्याका बालबालिका इन्स्टाग्राममा रहेको जानकारी हुँदाहुँदै पनि उनीहरूलाई प्लेटफर्मबाट टाढा राख्न प्रभावकारी कदम नचालेको आरोप लगाएका छन्।

राज्यका पक्षले मेटाले बालबालिका र किशोरकिशोरीलाई आकर्षित गर्ने तथा उनीहरूलाई लामो समयसम्म प्लेटफर्ममा राख्ने उद्देश्यले विभिन्न सुविधा विकास गरेको दाबी गरेको छ।

अभियोजन पक्षका अनुसार मेटाका आन्तरिक अनुसन्धान, कर्मचारीबीच भएका इमेल तथा कम्पनीका उच्च तहमा भएका सञ्चारका अभिलेखले पनि प्लेटफर्मको अत्यधिक प्रयोग र किशोरकिशोरीको मानसिक स्वास्थ्यबीचको सम्बन्धबारे कम्पनी जानकार रहेको देखाउँछन्।

क्यालिफोर्नियाकी प्रमुख अभियोजनकर्ता मेगन ओ’निलले अदालतमा प्रस्तुत गरेको एउटा आन्तरिक अनुसन्धानमा पाँचमध्ये एक किशोरकिशोरीले इन्स्टाग्राम प्रयोग गरेपछि आफूलाई झन् नराम्रो महसुस हुने बताएको उल्लेख रहेको दाबी गरिन्।

उनले मेटाले सार्वजनिक रूपमा व्यक्त गरेको धारणा र कम्पनीका आन्तरिक अनुसन्धानबीच ठूलो अन्तर रहेको आरोप लगाइन्।

मेटाका प्रमुख कानुनी प्रतिनिधि पल स्मिड्टले भने राज्यका अभियोजनकर्ताले प्रस्तुत गरेका तथ्याङ्कलाई एकतर्फी रूपमा व्याख्या गरेको दाबी गरेका छन्।

उनले एउटै अनुसन्धानमा पाँचमध्ये एक किशोरकिशोरीले इन्स्टाग्रामका कारण आफूलाई नराम्रो महसुस भएको बताए पनि ४१ प्रतिशतले राम्रो अनुभव भएको र अर्को ४१ प्रतिशतले कुनै प्रभाव नपरेको बताएका तथ्यलाई पनि अदालतसमक्ष प्रस्तुत गरे।

मेटाले सामाजिक सञ्जालको प्रयोगका कारण केही व्यक्तिले समस्या भोग्न सक्ने कुरा स्वीकार गरे पनि त्यसलाई वैज्ञानिक रूपमा प्रमाणित भएको ‘लत’को रूपमा परिभाषित गर्न नमिल्ने तर्क गरेको छ।

मेटाका प्रतिनिधिले फेसबुक र इन्स्टाग्रामलाई मानिसलाई लत लगाउने उद्देश्यले डिजाइन नगरिएको बताएका छन्। कम्पनीका अनुसार सामाजिक सञ्जालको प्रयोग नियन्त्रण गर्न प्रयोगकर्तालाई सहयोग पुग्ने विभिन्न उपकरणसमेत उपलब्ध गराइएको छ।

मेटाले प्रयोगकर्ताको उमेर पहिचान गर्ने विषयमा पनि कानुनी चुनौती रहेको जनाएको छ। कम्पनीका कानुनी प्रतिनिधिका अनुसार बालबालिकालाई प्लेटफर्मबाट रोक्न प्रत्येक प्रयोगकर्ताको उमेर प्रमाणीकरण गर्न व्यक्तिगत विवरण सङ्कलन गर्नुपर्ने हुन्छ। तर बालबालिकाको गोपनीयता संरक्षणसम्बन्धी कानुनले त्यस्ता विवरणको सङ्कलन तथा प्रयोगमा समेत सीमितता लगाएको मेटाको तर्क छ।

अभियोजन पक्षले भने मेटाको व्यापारिक मोडल नै प्रयोगकर्तालाई सकेसम्म लामो समय प्लेटफर्ममा सक्रिय राख्ने र उनीहरूबाट ठूलो मात्रामा तथ्याङ्क सङ्कलन गर्ने रहेको आरोप लगाएको छ।

ओ’निलले मेटाले आफ्ना प्लेटफर्मको सम्भावित नकारात्मक प्रभावबारे जानकारी पाएपछि पनि किशोरकिशोरीलाई प्रयोगकर्ता बनाउन र उनीहरूलाई प्लेटफर्ममा टिकाइराख्न प्राथमिकता दिएको दाबी गरिन्।

उनका अनुसार मेटाका आन्तरिक दस्तावेजमा किशोरकिशोरीले इन्स्टाग्राम प्रयोग गर्दाको अनुभवलाई लतमा परेको व्यक्तिको अनुभवसँग तुलना गरेको समेत भेटिन्छ।

अभियोजन पक्षले मेटाका केही सुविधाले प्रयोगकर्तालाई बारम्बार प्लेटफर्ममा फर्किन र लामो समयसम्म स्क्रोल गर्न प्रेरित गर्ने दाबी गरेको छ। यस्तो डिजाइनले बालबालिकालाई पढाइ, परिवार, सामाजिक सम्बन्ध तथा अन्य स्वस्थ गतिविधिबाट टाढा लैजान सक्ने उनीहरूको तर्क छ।

मुद्दा दायर गर्ने अमेरिकी राज्यहरूले मेटाबाट ठूलो रकम क्षतिपूर्तिसमेत माग गरेका छन्। उनीहरूले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगसँग सम्बन्धित नीतिमा परिवर्तन गर्नुपर्ने मागसमेत गरेका छन्।

राज्यका पक्षले प्रयोगकर्ताले पोस्टमा दिएको ‘लाइक’को सङ्ख्यालाई अत्यधिक महत्व दिने व्यवस्था हटाउन तथा अनिश्चित समयसम्म स्क्रोल गरिरहन सकिने सुविधा नियन्त्रण गर्नुपर्ने माग गरेका छन्।

मेटाले भने आफ्ना प्लेटफर्मबाट किशोरकिशोरीले प्राप्त गरेका सकारात्मक अनुभवलाई राज्यका अभियोजनकर्ताले बेवास्ता गरेको आरोप लगाएको छ।

मुद्दाको केन्द्रमा सामाजिक सञ्जालले बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यमा पार्ने प्रभाव रहेको छ।

अभियोजन पक्षले मेटालाई आफ्नै अनुसन्धानबाट सम्भावित जोखिमबारे जानकारी भएको दाबी गरिरहेको छ। विशेषगरी सामाजिक सञ्जालको अत्यधिक प्रयोग, आत्मसम्मानमा कमी, असन्तुष्टि तथा मानसिक दबाबसँग सम्बन्धित विषयलाई कम्पनीले पहिल्यै पहिचान गरेको उनीहरूको दाबी छ।

मेटाले भने सामाजिक सञ्जाल प्रयोग र मानसिक स्वास्थ्यबीचको सम्बन्धलाई लिएर वैज्ञानिक अनुसन्धानबाट सामाजिक सञ्जालको ‘लत’ निश्चित रूपमा प्रमाणित भइसकेको निष्कर्ष निकाल्न नसकिने तर्क गरेको छ।

यस मुद्दामा अदालतले आगामी साताहरूमा मेटाका आन्तरिक दस्तावेज, कर्मचारीका अभिलेख, अनुसन्धान तथा कम्पनीका सार्वजनिक अभिव्यक्तिसहित विभिन्न प्रमाणमाथि विचार गर्नेछ।

ओखलढुङ्गाको विद्युत् समस्या तत्काल समाधान गर्न खतिवडाको आग्रह

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद रामहरि खतिवडाले ओखलढुङ्गामा पटक-पटक विद्युत् अवरुद्ध हुने समस्या तत्काल समाधान गर्न नेपाल विद्युत् प्राधिकरणसँग आग्रह गरेका छन्।

काठमाडौंमा पूर्वसांसद खतिवडा र मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसँग भेट गरी जिल्लामा देखिएको विद्युत् आपूर्तिको समस्याबारे ध्यानाकर्षण गराएका हुन्।

भेटका क्रममा खतिवडाले ओखलढुङ्गामा लामो समयदेखि विद्युत् आपूर्तिमा अनियमितता हुँदै आएको र पटक-पटक विद्युत् अवरुद्ध हुँदा जिल्लावासीको दैनिक जनजीवन प्रभावित भइरहेको बताए।

विद्युत् आपूर्तिमा देखिएको समस्या सामान्य प्राविधिक समस्या मात्र नभई जिल्लाको समग्र विकाससँग जोडिएको विषय भएकाले यसको दीर्घकालीन समाधान खोज्न उनले प्राधिकरणसँग आग्रह गरे।

खतिवडाले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा आवश्यक प्राविधिक सुधार, पूर्वाधारको स्तरोन्नति तथा क्षमता विस्तारका कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए। नियमित र भरपर्दो विद्युत् आपूर्ति नहुँदा सर्वसाधारणसँगै उद्योग, व्यवसाय, सरकारी तथा निजी क्षेत्रका सेवा र स्थानीय उत्पादनमा समेत असर पर्ने उनको भनाइ छ।

उनले ओखलढुङ्गा जिल्लाको विद्युत् आपूर्ति सुधारका लागि तत्काल गर्नुपर्ने काम पहिचान गरी त्यसको कार्यान्वयनमा प्राधिकरणले सक्रियता देखाउनुपर्ने बताए।

जिल्लामा विद्युत् सेवा विस्तार भए पनि नियमित आपूर्तिमा समस्या कायम रहेकाले दीर्घकालीन समाधानका लागि प्रसारण तथा वितरण संरचनाको अवस्था अध्ययन गरी आवश्यक सुधार गर्नुपर्ने उनले जोड दिए।

खतिवडाले दूधकोशी जलविद्युत् आयोजनालाई समेत छिटो कार्यान्वयनमा लैजान प्राधिकरणसँग आग्रह गरेका छन्। ओखलढुङ्गालगायत आसपासका जिल्लाको विद्युत् आपूर्ति सुधार र स्थानीय आर्थिक गतिविधि विस्तारका लागि आयोजना महत्वपूर्ण हुने भएकाले यसको निर्माण तथा सञ्चालनसँग सम्बन्धित प्रक्रिया तीव्र बनाउनुपर्ने उनले बताए।

उनका अनुसार दूधकोशी जलविद्युत् आयोजना अघि बढेमा विद्युत् उत्पादनमा मात्र योगदान पुग्ने नभई स्थानीय स्तरमा रोजगारी सिर्जना, पूर्वाधार विकास तथा आर्थिक गतिविधि विस्तारमा समेत सहयोग पुग्नेछ। आयोजना आसपासका क्षेत्रमा उद्योग तथा व्यवसाय सञ्चालनको वातावरण निर्माण गर्न पनि भरपर्दो विद्युत् आपूर्ति आवश्यक हुने उनले बताए।

ओखलढुङ्गाको विकास, उद्योग तथा व्यवसाय विस्तार, कृषि उत्पादनको व्यावसायीकरण र पर्यटन प्रवर्द्धनका लागि विद्युत् महत्वपूर्ण आधारभूत पूर्वाधार भएको उल्लेख गर्दै खतिवडाले जिल्लावासीलाई नियमित र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरणले ठोस कदम चाल्नुपर्ने बताए।

भेटमा मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले पनि स्थानीय तहमा विद्युत् आपूर्तिसँग सम्बन्धित समस्या समाधान गर्न प्राधिकरणको ध्यानाकर्षण गराएका थिए।

स्थानीयस्तरमा विद्युत् सेवा प्रभावकारी नहुँदा विकास निर्माण तथा जनजीवनमा परेको असरबारे उनले जानकारी गराएका थिए।

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले ओखलढुङ्गामा देखिएको विद्युत् आपूर्तिसम्बन्धी समस्याबारे आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्। उनले समस्या समाधानका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय पक्षमा ध्यान दिने बताएका छन्।

श्रेष्ठले दूधकोशी जलविद्युत् आयोजना सञ्चालनसँग सम्बन्धित विषयलाई समेत प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आयोजना अघि बढाउन आवश्यक प्रक्रिया तथा कामलाई गति दिने विषयमा प्राधिकरण सकारात्मक रहेको उनको भनाइ थियो।

रविले बोलाएको बैठकमा को-को आए ? [तस्वीरहरू]

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको बैठकमा सहभागी हुन पार्टीका मन्त्री तथा सांसदहरू संसदीय दलको कार्यालय पुगेका छन्।

बैठकमा सांसदहरूका पछिल्ला गतिविधिको समीक्षा, संसद्मा पार्टीको भूमिका तथा सरकारको कामकारबाहीका विषयमा छलफल हुने बताइएको छ।

बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको भूमिकाबारे पनि समीक्षा हुने जनाइएको छ। पछिल्लो राजनीतिक अवस्था तथा आगामी दिनमा संसद्मा रास्वपाले अपनाउने रणनीतिबारे समेत छलफल हुने अपेक्षा गरिएको छ।

ट्रम्प-किम संवादका लागि सैन्य अभ्यास छोट्याइयो

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पुनः संवादमा ल्याउने प्रयास अघि बढाएपछि अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास निर्धारित समयभन्दा चार दिनअघि नै अन्त्य गर्ने भएका छन्।

दुवै देशका अधिकारीहरूले बुधबार अभ्यासको अवधि छोट्याउनुका साथै केही संयुक्त क्षेत्रीय सैन्य प्रशिक्षणसमेत घटाउने सहमति भएको बताएका छन्। यस निर्णयले ट्रम्प र किमबीच पुनः संवादको सम्भावना बढाउन सक्ने भए पनि अमेरिका-दक्षिण कोरिया सुरक्षा गठबन्धनको सैन्य तयारी कमजोर हुन सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।

अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि सुरु गरेको ११ दिने ‘उल्ची फ्रिडम सिल्ड’ सैन्य अभ्यास आगामी अगस्ट २७ सम्म सञ्चालन गर्ने योजना बनाएका थिए। तर अमेरिकी आग्रहपछि अभ्यास शुक्रबार नै समाप्त गरिने दक्षिण कोरियाली सेनाले जनाएको छ।

दुवै पक्षले संयुक्त रक्षा क्षमता कायम राख्दै अभ्यासका उद्देश्य पूरा गर्न वैकल्पिक प्रशिक्षण तथा अन्य उपाय कार्यान्वयन गर्ने बताएका छन्।

ट्रम्पले अभ्यास सुरु हुनुअघि नै आफ्ना रक्षा प्रमुखलाई सहयोगी मुलुकहरूसँग हुने ग्रीष्मकालीन सैन्य अभ्यासको आकार ‘पर्याप्त रूपमा घटाउन’ निर्देशन दिएका थिए। उनले उत्तर कोरियाली नेता किमसँग आफ्नो राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै दक्षिण कोरियाले इरानविरुद्धको अमेरिकी युद्धमा सहभागी हुन अस्वीकार गरेको विषयलाई पनि अभ्यास घटाउने निर्णयसँग जोडेको बताइएको छ।

‘उल्ची फ्रिडम सिल्ड’ मुख्यतः कम्प्युटरमा आधारित कमान्ड पोस्ट अभ्यास हो। उत्तर कोरियाबाट सम्भावित आक्रमण भएमा अमेरिका र दक्षिण कोरियाली सेनाले संयुक्त रूपमा कसरी प्रतिकार गर्ने भन्ने क्षमता विकास गर्नु यसको प्रमुख उद्देश्य हो।

अभ्यासका क्रममा दुवै देशले संयुक्त तथा छुट्टाछुट्टै रूपमा विभिन्न सैन्य प्रशिक्षणसमेत सञ्चालन गर्दै आएका छन्। सन् १९५०–५३ को कोरियाली युद्धपछि विकसित अमेरिका–दक्षिण कोरिया सैन्य गठबन्धनको प्रमुख आधारका रूपमा यस्ता संयुक्त सैन्य अभ्यासलाई लिइन्छ।

तर उत्तर कोरियाले भने लामो समयदेखि यस्ता अभ्यासको विरोध गर्दै आएको छ। उसले संयुक्त सैन्य अभ्यासलाई आफूविरुद्ध सम्भावित आक्रमणको पूर्वाभ्यासका रूपमा व्याख्या गर्दै आएको छ। यस्ता अभ्यासपछि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्ने गरेको इतिहाससमेत छ।

यसपटकको अभ्यास सुरु हुनुभन्दा केही दिनअघि पनि उत्तर कोरियाले समुद्रतर्फ दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।

यसपटकको ‘उल्ची फ्रिडम सिल्ड’ दुई चरणमा सञ्चालन गर्ने योजना थियो। पहिलो चरणमा शुक्रबारसम्म उत्तर कोरियाली आक्रमणको सम्भावित अवस्थाको अनुकरण गर्दै रक्षात्मक कारबाहीको अभ्यास गर्ने तयारी थियो।

दोस्रो चरणमा भने अगस्ट २७ सम्म सम्भावित प्रतिआक्रमणसम्बन्धी गतिविधिको अभ्यास गर्ने योजना थियो। उत्तर कोरिया विशेषगरी यस्ता प्रतिआक्रमणसम्बन्धी सैन्य अभ्यासप्रति संवेदनशील मानिन्छ।

अमेरिकी आग्रहपछि अभ्यास छोट्याउने निर्णयले विशेषगरी दोस्रो चरणका केही गतिविधि प्रभावित हुने अपेक्षा गरिएको छ।

उत्तर कोरियाले ट्रम्पको पछिल्लो टिप्पणीबारे प्रत्यक्ष प्रतिक्रिया नदिए पनि सरकारी समाचार संस्था केसीएनएले बुधबार अमेरिका–दक्षिण कोरियाली सैन्य अभ्यासको आलोचना गरेको छ।

केसीएनएले अभ्यासलाई ‘उन्मत्त’ र ‘अत्यन्त खतरनाक’ गतिविधिका रूपमा चित्रण गर्दै यस्ता सैन्य गतिविधिले उत्तर कोरियाको सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको दाबी गरेको छ।

उत्तर कोरियाले आफ्नो सुरक्षामाथि खतरा बढेमा प्रतिरक्षाको अधिकार प्रयोग गर्दै विरोधीको सैन्य क्षमतालाई निष्क्रिय पार्ने चेतावनीसमेत दिएको छ।

विश्लेषकहरूका अनुसार उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम विस्तार गरिरहेको तथा रुससँग सैन्य सहकार्य बढाइरहेको अवस्थामा किम जोङ उनले ट्रम्पको पछिल्लो संवाद प्रस्ताव तत्काल स्वीकार गर्ने सम्भावना कम छ।

विश्लेषकहरूले उत्तर कोरियाले वार्तामा फर्कनुअघि अमेरिकाबाट महत्वपूर्ण सहुलियतको सुनिश्चितता खोज्न सक्ने बताएका छन्।

ट्रम्प र किमबीच यसअघि सन् २०१८ र २०१९ मा तीनपटक प्रत्यक्ष भेटवार्ता भएको थियो। तर उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम सीमित वा अन्त्य गर्ने व्यापक कदमको बदलामा अमेरिकाले प्रतिबन्ध हटाउनुपर्ने माग गरेपछि वार्ता निष्कर्षमा पुग्न सकेन।

किमले गत वर्ष ट्रम्पको अघिल्लो संवाद प्रयासप्रति प्रतिक्रिया दिँदै अमेरिकाले उत्तर कोरियाको आणविक निशस्त्रीकरणलाई वार्ताको पूर्वसर्त नबनाए संवादमा फर्कन सकिने सङ्केत गरेका थिए।

दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङको कार्यालयले सोमबार ट्रम्प र किमबीच रहेको ‘मैत्रीपूर्ण सम्बन्ध’ ले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न अमेरिका र दक्षिण कोरियाबीच अर्थपूर्ण संवादको वातावरण निर्माण हुने आशा व्यक्त गरेको थियो।

तर दक्षिण कोरियाका रूढीवादी राजनीतिक समूहहरूले भने ली सरकारमाथि सुरक्षा चिन्ताभन्दा ट्रम्प–किम कूटनीति पुनः सुरु गर्ने विषयलाई प्राथमिकता दिएको आरोप लगाएका छन्।

कमेडियन अमरेन्द्र यादवलाई ज्यान मार्ने धम्की

काठमाडौं। स्ट्यान्ड-अप कमेडियन अमरेन्द्र यादवले आफूलाई पछिल्लो तीन दिनदेखि निरन्तर मानसिक दबाब र ज्यान मार्ने धम्की आइरहेको बताएका छन्।

‘कमेडी बाज’मा पछिल्लो पटक दिएको प्रस्तुतिपछि आफू एमालेका केही कार्यकर्ता तथा समर्थकको निशानामा परेको उनको दाबी छ। घटनाका कारण आफू गम्भीर मानसिक तनावमा रहेको र कोठाबाट बाहिर निस्कनसमेत डर लागिरहेको उनले बताएका छन्।

यादवले सामाजिक सञ्जालमार्फत आफूलाई व्यक्तिगत रूपमा गाली गर्ने, मानसिक रूपमा दुःख दिने तथा धम्की दिने क्रम बढेको बताएका हुन्।

उनले लेखेका छन्, ‘मलाई व्यक्तिगत रूपमा गाली गर्ने र टर्चर दिने काम भइरहेको छ। मलाई रुमबाट बाहिर जान डर लागिरहेको छ, कहिलेसम्म रुममा बस्ने म?’

यादवले पछिल्ला तीन–चार दिनदेखि आफू निकै दबाबमा रहेको उल्लेख गर्दै निरन्तर धम्की आउन थालेपछि आफ्नो सुरक्षाबारे चिन्ता बढेको बताएका छन्।

‘कमेडी बाज’को पछिल्लो एपिसोडमा एमाले नेता सूर्य थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकाल अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा यादवले दुवै अतिथिलाई व्यंग्यात्मक शैलीमा रोस्ट गरेका थिए। विशेषगरी सूर्य थापासँग उनको सवाल–जवाफसमेत भएको थियो। उक्त प्रस्तुतिको भिडियो तथा क्लिप सामाजिक सञ्जालमा चर्चामा आएपछि यादवमाथि राजनीतिक पक्षधरता देखाएको आरोपसमेत लागेको उनको भनाइ छ।

आफ्नो प्रस्तुतिपछि आफूलाई धेरैले एमालेविरोधीका रूपमा बुझ्न थालेको यादवले बताएका छन्। तर आफू कुनै पनि राजनीतिक दलको पक्ष वा विपक्षमा नरहेको उनले स्पष्ट पारेका छन्।

उनका अनुसार स्ट्यान्ड-अप कमेडीमा विभिन्न राजनीतिक विचार र व्यक्तिमाथि व्यंग्य गर्नु प्रस्तुतिको स्वाभाविक हिस्सा हो। विगतमा आफूले अन्य राजनीतिक विचारधारा र दलसँग आबद्ध व्यक्तिहरूलाई पनि रोस्ट गरेको उनले स्मरण गराएका छन्।

यादवले आफूले प्रस्तुतिमा गरेको व्यंग्यलाई राजनीतिक विरोधका रूपमा नबुझ्न आग्रह गर्दै व्यक्तिगत गालीगलौज र धम्की दिनु स्वीकार्य नहुने बताएका छन्।

घटनाबारे उनले सार्वजनिक रूपमा सुरक्षा चिन्ता व्यक्त गरे पनि धम्की दिने व्यक्तिहरूको पहिचान वा उनीहरूमाथि कुनै कानुनी कारबाही भएकोबारे भने थप विवरण सार्वजनिक भएको छैन।

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल नियुक्त

काठमाडौं। नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. ढुण्डीराज पौडेल नियुक्त भएका छन्।

नवनियुक्त अध्यक्ष पौडेलले बुधबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

पौडेल वरिष्ठ नाक, कान तथा घाँटी विशेषज्ञ हुन्। उनी हाल नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी विभाग प्रमुख तथा प्राध्यापकका रूपमा कार्यरत छन्।

यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल र दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका थिए।

पौडेलले त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नाक, कान तथा घाँटी शल्य चिकित्सामा एमएस तहको अध्ययन गोल्ड मेडलसहित पूरा गरेका हुन्। उनले सोही संस्थानबाट एमबीबीएस अध्ययन गरेका थिए।

चिकित्सा क्षेत्रमा लामो अनुभव भएका पौडेलले नेपाल मेडिकल काउन्सिलमै नैतिकता तथा परीक्षा समितिको कार्यकारी सदस्य र समन्वयकर्ताका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन्।

काउन्सिलको अध्यक्षका रूपमा उनको कार्यकालमा चिकित्सकको दर्ता तथा लाइसेन्स, परीक्षा प्रणाली, चिकित्सा शिक्षाको गुणस्तर र चिकित्सकीय आचारसंहिताको प्रभावकारी कार्यान्वयनलगायत विषय प्रमुख जिम्मेवारीका रूपमा रहनेछन्।

प्रश्न सोध्ने प्रक्रिया नबुझ्दा संसदमा हर्क साम्पाङ जिल्लिएको त्यो क्षण

काठमाडौं । श्रम संस्कृति पार्टीको संसदीय दलका नेतासमेत रहेका सांसद हर्क साम्पाङ मंगलबार प्रतिनिधिसभा बैठकमा प्रश्न सोध्ने प्रक्रियाबारे जानकारी नहुँदा जिल्लिनुपरेको छ ।

मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा कांग्रेस प्रमुख सचेतक बासना थापाले ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई लिखित रूपमा बुझाएको प्रश्न वाचन गरेकी थिइन् । मन्त्री श्रेष्ठले जवाफ दिएपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई आसन ग्रहण गराए ।

त्यसपछि साम्पाङ जुरुक्क उठे । उनले ऊर्जामन्त्री श्रेष्ठलाई मौखिक प्रश्न सोध्न चाहे ।

सभामुख अर्यालले साम्पाङतर्फ हेर्दै सोधे, ‘नियमावलीको कुन नियमापत्ति हो माननीय सदस्य ?’

साम्पाङले आफूले ऊर्जामन्त्रीलाई मौखिक प्रश्न सोध्न चाहेको बताए । त्यसपछि सभामुख केहीबेर अलमलमा परे । उनले संसद् सचिवालयका कर्मचारीसँग समेत प्रक्रियाबारे राय लिए ।

त्यसपछि सभामुखले साम्पाङलाई आसन ग्रहण गर्न आग्रह गरे ।

‘माननीय सदस्य बस्नुहोस्,’ सभामुखले भने ।

साम्पाङ जिल्लिएझैँ मुस्कुराए । तर, सभामुखले फेरि सम्झाउँदै भने, ‘माननीय सदस्य बसौँ, म बुझाउन खोज्दैछु । बसौँ । आसन ग्रहण गरौँ ।’

त्यसपछि सभामुखले प्रतिनिधिसभा नियमावलीको व्यवस्थाबारे साम्पाङलाई जानकारी गराए ।

‘माननीय सदस्य, प्रतिनिधिसभा नियमावलीको परिच्छेद–८ मा प्रश्न सोध्न सकिने व्यवस्था गरिएको छ । सोहीअनुसार माननीय सदस्यहरूले सोध्नुभएको प्रश्न लिखित रूपमा आएको र मौखिक रूपमा सोधिन्छ । अहिले माननीय बासना थापाले लिखित रूपमा बुझाएको प्रश्न वाचन गर्नुभएको हो,’ सभामुखले स्पष्ट पारे ।

तर, साम्पाङले भने मौखिक प्रश्न सोध्न पाउनुपर्ने तर्क गरिरहे ।

साम्पाङको पछाडि बसेका श्रम संस्कृति पार्टीकै महासचिव आरेन राई त्यसक्रममा हाँसेको देखिन्थ्यो । अन्य सांसदहरू पनि साम्पाङतर्फ हेर्दै मुखामुख गरिरहेका थिए ।

सभामुखले फेरि भने, ‘बसौँ माननीय सदस्य, आसन ग्रहण गरौँ ।’

साम्पाङलाई प्रश्नोत्तरको प्रक्रिया बुझाउँदै सभामुखले मन्त्रीहरूले सदनमा आएर जवाफ दिने व्यवस्था नियमावलीअनुसार हुने बताए ।

‘माननीय सदस्यहरूले परिच्छेद–८ अनुसारको प्रश्न सोधिएको अवस्थामा मन्त्रीहरूले सदनमा आएर जवाफ दिने गरिएको हो,’ सभामुखले भने ।

उनले प्रश्नोत्तरको प्रक्रियाबारे थप स्पष्ट पार्न कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल हुने पनि बताए ।

संसदीय दलका नेतासमेत रहेका साम्पाङले संसद्को नियमावलीमा रहेको प्रश्नोत्तरको सामान्य प्रक्रियासमेत नबुझेको देखिएपछि मंगलबारको बैठकमा उनी केहीबेर असहज अवस्थामा परेका थिए ।

सामान्यतया संसद्मा सरकारका मन्त्रीसँग प्रश्नोत्तर गर्नुअघि प्रश्न लिखित रूपमा दर्ता हुने र तोकिएको प्रक्रियाअनुसार त्यसलाई सदनमा प्रस्तुत गरिने व्यवस्था छ ।

साम्पाङ भने उक्त प्रक्रियाबारे अनभिज्ञ देखिँदै बैठकमै मौखिक प्रश्न गर्न खोजेपछि सभामुखबाटै पटक–पटक आसन ग्रहण गर्न निर्देशन पाएका थिए ।

दुर्गा प्रसाईंको स्थायी ‘सर्वोच्च नेता’ अडानले धवल पक्षसँग एकता भाँडिएको खुल्यो

काठमाडौं । दुर्गा प्रसाईंले पार्टीको ‘सर्वोच्च नेता’ पद स्थायी हुनुपर्ने अडान लिएपछि डा. धवलशम्शेर राणासँगको एकता प्रयास टुंगिन नसकेको खुलेको छ ।

पार्टी महाधिवेशन भए पनि सर्वोच्च नेताको पदमा प्रसाईंले प्रतिस्पर्धा गर्न नपर्ने, उम्मेदवारीसमेत दिनु नपर्ने र पद स्थायी रहने गरी प्रसाईंले राखेको प्रस्तावमा सहमति जुट्न नसकेपछि राणाले एक्लै जय नेपाल पार्टी गठन गरेका छन् ।

प्रजातान्त्रिक पार्टी गठन गर्ने उद्देश्यसहित राणा र प्रसाईं पक्षबीच केही समयदेखि छलफल हुँदै आएको थियो । प्रारम्भिक समझदारीअनुसार राणाले पार्टीको नेतृत्व गर्ने र प्रसाईंलाई सर्वोच्च नेताको जिम्मेवारी दिने सहमति बनेको थियो ।

त्यसअनुसार आगामी निर्वाचनमा जनतामाझ जाने, चुनाव जितेर आएपछि पार्टीको संसदीय फाँटको जिम्मेवारी प्रसाईंले सम्हाल्ने र पार्टी सरकारमा गएमा प्रसाईंको नेतृत्वमा सरकारमा सहभागी हुने गरी जिम्मेवारी बाँडफाँट गर्ने समझदारी भएको थियो ।

तर, पछि प्रसाईंले आफ्नो पदको विषयमा थप सर्त राखेपछि एकताको वातावरण बिग्रिएको प्रसाईं पक्षीय एक असन्तुष्ट नेताले बताए । उनका अनुसार प्रसाईं सर्वोच्च नेता बनेपछि उक्त पद स्थायी हुनुपर्ने पक्षमा थिए ।

‘दुर्गाजीको कुरा सर्वोच्च नेता स्थायी हुनुपर्छ भन्ने थियो । पार्टीको महाधिवेशन हुँदा पनि उहाँ सर्वोच्च नेताको पदमा चुनाव लड्नु नपर्ने, उम्मेदवारीसमेत दिनु नपर्ने र महाधिवेशनले उहाँलाई फेरि जिताएर ल्याउनुपर्ने अवस्था नहुने भन्ने थियो,’ प्रसाईं पक्षीय एक असन्तुष्ट नेताले भने ।

उनका अनुसार राजनीतिक विचार, पार्टीको कार्यक्रम वा नेतृत्वको कार्यदिशामा समस्या थिएन । विवाद मुख्यतः सर्वोच्च नेताको पदलाई स्थायी बनाउने कि पार्टीको लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने भन्ने विषयमा थियो ।

‘एकता नहुनुको मुख्य कारण वैचारिक वा राजनीतिक होइन, पदको सुरक्षाको विषय हो । सर्वोच्च नेता भएपछि त्यो पद स्थायी हुनुपर्छ भन्ने अडानले समस्या भयो,’ ती नेताले भने ।

यद्यपि, प्रसाईं र राणा पक्षबीच संवाद भने पूर्ण रूपमा टुटेको छैन । भविष्यमा सहकार्य वा एकताको सम्भावनाबारे छलफल जारी रहेको ती नेताले बताए ।

कप्तानगञ्जमा बाहिरबाट गोली चलेको दाबी झुटो, सुरक्षाकर्मीकै गोलीबाट तीनको मृत्यु

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा तीन युवाको ज्यान जाने गरी गोली चलाउने सुरक्षाकर्मी नै भएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

घटनामा बाहिरी व्यक्तिबाट गोली चलेको हुन सक्ने आशंका गरिए पनि गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापा नेतृत्वको समितिले त्यस्तो प्रमाण नभेटिएको जनाएको छ ।

कप्तानगञ्जमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरी २० राउन्ड गोली चलाएको समितिको निष्कर्ष छ । ती गोलीकै क्रममा तीन युवाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

समितिका एक सदस्यका अनुसार घटनामा बाहिरबाट गोली चलेको भन्ने चर्चा भए पनि छानबिनका क्रममा त्यसको पुष्टि हुने कुनै आधार भेटिएन ।

‘बाहिरबाट गोली चलेको भन्ने हल्ला थियो । हाम्रो छानबिनले त्यस्तो फेला पार्न सकेन । बरु, सुरक्षाकर्मीबाटै गोली प्रहार भएको देखियो,’ उनले भने ।

कप्तानगञ्जमा १० साउन राति चर्को आवाजमा डिजे बजाएको विषयमा विवाद सुरु भएको थियो । सामान्य विवाद झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी परिचालन भएको थियो । अवस्था थप तनावपूर्ण बनेपछि सशस्त्र प्रहरीसमेत परिचालन गरिएको थियो ।

त्यस क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गोली चलाएको समितिले जनाएको छ । घटनामा स्थानीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो । उनीसँगै घाइते भएका जयप्रकाश मेहता र रवीन्द्र मेहताको उपचारका क्रममा मृत्यु भएको थियो ।

तीन जनाको मृत्यु भएपछि सुरक्षाकर्मीले गोली चलाउनुपर्ने अवस्था थियो कि थिएन भन्ने प्रश्न उठेको थियो । समितिले गोली चलाउने सुरक्षाकर्मीको भूमिकामाथि समेत अध्ययन गरेको छ ।

समितिले मानवीय क्षति हुने गरी गोली चलाउने सुरक्षाकर्मीमाथि आवश्यक कारबाही गर्न सिफारिस गरेको छ । यद्यपि, कस्तो प्रकृतिको कारबाही गर्ने भन्ने स्पष्ट उल्लेख गरिएको छैन ।

समितिका सदस्यले भने, ‘मानवीय क्षति हुनेगरी गोली चलाउनेलाई कारबाही गर्नू भनेर सिफारिस गरेका छौँ ।’

समितिले गोली चलेको तथ्यमा मात्र छानबिन सीमित गरेको छैन । जिल्ला प्रहरी प्रमुख, फिल्डमा खटिएका सुरक्षाकर्मी र प्रमुख जिल्ला अधिकारीको भूमिकासमेत अध्ययन गरिएको छ । सुरक्षाकर्मी परिचालन गर्ने निर्णयदेखि फिल्ड कमान्ड र गोली चलाउने अवस्था कसरी सिर्जना भयो भन्नेसम्मका विषय प्रतिवेदनमा समेटिएको छ ।

यससँगै कप्तानगञ्ज घटनाको मुख्य प्रश्न अब गोली कसले चलायो भन्नेमा सीमित रहेन । सुरक्षाकर्मीले कुन परिस्थितिमा गोली चलाए, बल प्रयोग आवश्यक थियो कि थिएन र गोली चलाउने निर्णय कानुनसम्मत थियो कि थिएन भन्ने प्रश्न थप गम्भीर बनेको छ ।

सुनसरीसँगै सिरहाको गोलबजार घटनामा पनि बाहिरी व्यक्तिले गोली चलाएको प्रमाण भेटिएको छैन । गृह मन्त्रालयका सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले प्रहरीकै गोलीबाट गणेश यादवको मृत्यु भएको निष्कर्ष निकालेको छ ।

गोलबजारमा जम्मा नौ राउन्ड गोली चलेको पाइएको छ । त्यसमध्ये सात राउन्ड डमी र दुई राउन्ड पेस्तोलबाट चलेको समितिले जनाएको छ । पेस्तोलबाट चलेको एउटा गोली यादवलाई लागेको र अर्को गोली लागेर अर्का एक व्यक्ति घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।

गोलबजार घटनामा प्रहरी जवानलाई समेत गोली लागेको दाबी गरिएको थियो । तर, छानबिन समितिले उक्त दाबी पुष्टि नभएको जनाएको छ ।

दुवै घटनामा बाहिरी घुसपैठ वा अन्य पक्षबाट गोली चलेको आशंका सार्वजनिक रूपमा उठेको थियो । तर, दुवै छानबिन समितिको निष्कर्षले त्यसलाई पुष्टि गर्ने प्रमाण नभेटिएको देखाएको छ ।

अब सुरक्षाकर्मीले गोली चलाएको तथ्य स्थापित भएसँगै घटनाको अनुसन्धान र जिम्मेवारी निर्धारणको विषय थप महत्वपूर्ण बनेको छ ।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन छानबिन समितिले भिड नियन्त्रणमा जाने सुरक्षाकर्मीलाई गैरघातक हतियार उपलब्ध गराउनुपर्ने, रबरको गोली प्रयोग गर्नुपर्ने तथा हतियार बोकेका सुरक्षाकर्मीलाई बडीवर्न क्यामेरा अनिवार्य गर्नुपर्ने सुझावसमेत दिएको छ ।

रविलक्षित निष्कलको प्रश्न : विगत ढाकछोप गर्न राहदानी कानुन फेरिँदै त छैन?

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निष्कल राईले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै राहदानीसम्बन्धी प्रस्तावित कानुनी व्यवस्थाप्रति प्रश्न उठाएका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले झुटो विवरण दिएर राहदानी प्राप्त गर्ने विषयमा कडा कानुनी कारबाहीको व्यवस्था कमजोर बनाउन खोजिएको भन्दै सरकारको नियतमाथि प्रश्न गरेका हुन् ।

राईले राहदानीसम्बन्धी विवाद विगतमा राजनीतिक दलका वरिष्ठ नेता तथा विशिष्ट व्यक्तिसमेत जोडिएको विषय भएको स्मरण गराए । विशेषगरी झुटो विवरण दिएर राहदानी प्राप्त गरेको विषय सर्वोच्च अदालतसम्म पुगेको प्रसंग उल्लेख गर्दै उनले अहिले त्यस्तो कसुरमा जेल सजायको सट्टा जरिवानामात्र गर्ने प्रस्ताव आउनुको कारण खोज्नुपर्ने बताए ।

‘झुटो विवरण दिई राहदानी प्राप्त गरेको विषय हाल सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । प्रस्तुत विवरणमा झुटो विवरण दिई राहदानी बनाउनेलाई जेल सजायको सट्टा जरिवाना मात्रै गर्ने प्रस्ताव देखिन्छ,’ राईले भने, ‘यस्ता केही विषय छन्, जसले विषयको नियतमा शंका उब्जाएको छ ।’

राईले सत्ता र शक्तिको आडमा कसैको विगत ढाकछोप गर्ने उद्देश्यले कानुन ल्याउन खोजिएको त होइन भन्ने प्रश्नसमेत गरे ।

‘सत्ता र प्रचण्ड शक्तिको आडमा कतै आफ्नो विगतलाई छोप्न कानुन ल्याउन खोजिएको हो कि भन्ने प्रश्न उब्जाउने ठाउँ सरकारले प्रदान गरेको छ,’ उनले भने ।

राईले राहदानीलाई सामान्य यात्रा कागजातका रूपमा मात्र बुझ्न नहुने बताए । राहदानी नागरिकको व्यक्तिगत तथा संवेदनशील दस्तावेज भएकाले यसको दुरुपयोग रोक्ने गरी कानुन निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।

उनले प्रस्तावित कानुनी व्यवस्थाले विगतका विवादलाई समेत प्रभावित पार्न सक्ने भएकाले सरकार स्पष्ट हुनुपर्ने बताए । साथै, राहदानीसम्बन्धी कानुनलाई आधुनिक र नागरिकमैत्री बनाउँदा नागरिकका व्यक्तिगत विवरण तथा डाटा सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने उनको माग थियो ।

‘राहदानी व्यक्तिगत दस्तावेज भए पनि दुरुपयोग हुने गरेको छ । राहदानीसम्बन्धी कानुनलाई आधुनिक बनाउनुपर्छ । नागरिकको डाटा कसको नियन्त्रणमा जान्छ?’ राईले प्रश्न गरे ।

राईको अभिव्यक्ति सत्तारुढ दलका सभापति लामिछानेसँग जोडिएको पुरानो राहदानी विवादलाई लक्षित गर्दै आएको देखिन्छ । उनले भने प्रत्यक्ष रूपमा लामिछानेको नाम लिएनन् । तर, झुटो विवरण दिई राहदानी प्राप्त गर्ने विषयमा सजाय घटाउने प्रस्ताव र त्यसको नियतमाथि प्रश्न उठाउँदै उनले सरकारलाई जवाफदेही बनाउन खोजेका छन् ।

इलाममा पर्यटन बजेटबारे सांसद राईले प्रश्न सोध्दा पर्यटनमन्त्रीले मागे माफी

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका सचेतक निष्कल राईले इलामलाई पर्यटन बजेटमा उपेक्षा गरिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलसँग प्रश्न गरेका छन् ।

तर, मन्त्री पौडेलले इलामका लागि बजेट विनियोजन भएको विवरण सुनाए पनि राईले उठाएको मूल प्रश्नको स्पष्ट जवाफ दिन सकेनन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा राईले आर्थिक वर्ष २०८३/८४ को पर्यटन मन्त्रालयको बजेट पुस्तिकामा ‘इलाम’ शब्द नै नदेखिएको भन्दै सरकारको प्राथमिकतामाथि प्रश्न उठाएका थिए ।

इलाम चिया बगान, प्राकृतिक सौन्दर्य, हरियाली, सांस्कृतिक विविधता र कृषि पर्यटनका कारण महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेको उल्लेख गर्दै उनले सरकारले जिल्लालाई बजेटमा किन नदेखेको भन्दै प्रश्न गरे ।

‘पर्यटन मन्त्रालयअन्तर्गतको यो बजेट पुस्तिकामा तीन अक्षरको ‘इलाम’ शब्द कतै देख्न पाइएन,’ राईले भने, ‘झन्डै दुई तिहाइको सरकारले इलाम जिल्ला किन देखेन ?’

उनले सरकारले अघि सारेको ‘ट्रेक टु टुरिजम डेभलपमेन्ट प्रोजेक्ट’ लाई समेत जोडेर थप प्रश्न गरे । उनका अनुसार उक्त परियोजना नयाँ योजना नभई क्रमागत प्रकृतिको हो । त्यसैले यसपटकको २८ पृष्ठको बजेट पुस्तिकामा इलामका लागि नयाँ योजना नदेखिएको उनको दाबी थियो ।

‘यो २८ पन्नाको बजेट पुस्तिकामा पर्यटन मन्त्रालयअन्तर्गत इलामलाई कुनै नयाँ योजना आएको छैन । मैले अध्ययन गरेँ,’ राईले भने, ‘कि मेरो आँखा कमजोर भएको हो कि ?’

जवाफमा मन्त्री पौडेलले भने इलामका विभिन्न क्षेत्रमा बजेट छुट्याइएको जानकारी दिए । उनका अनुसार ‘ट्रेक टु टुरिजम डेभलपमेन्ट प्रोजेक्ट’ अन्तर्गत सूर्योदय नगरपालिकाका लागि १ करोड ८४ लाख र इलाम नगरपालिकाका लागि ४१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै, कन्याम, फिक्कल र अन्तुडाँडा क्षेत्रमा होटल निर्माण, विकास तथा विस्तार परियोजनाका लागि ३ करोड रुपैयाँ छुट्याइएको उनले बताए ।

यी शीर्षकमा गरी इलामका लागि कुल ४ करोड ९५ लाख रुपैयाँ विनियोजन भएको मन्त्रीको भनाइ थियो ।

तर, राईले उठाएको बजेट पुस्तिकामा जिल्लाको नाम नसमेटिएको र नयाँ योजना के आयो भन्ने प्रश्नमा मन्त्रीले स्पष्ट जवाफ दिएनन् । बरु, इलामका विभिन्न क्षेत्रको नाम बजेटमा रहेको भन्दै पुस्तिका हेर्न आग्रह गरे ।

‘इलाम भन्ने शब्द नपरेकोमा क्षमा याचना गर्दछु । तर, इलामका धेरैजसो क्षेत्रको नाम यहाँ आएको छ,’ मन्त्री पौडेलले भने, ‘माननीयज्यूलाई बजेट पुस्तिका पल्टाएर हेर्नुहुन र शंका भएमा मन्त्रालयमा सम्पर्क राख्न अनुरोध गर्दछु ।’

मन्त्रीको जवाफपछि राईले आफूले बजेट पुस्तिका अध्ययन गरेरै प्रश्न गरेको बताए । उनले ‘ट्रेक टु टुरिजम’ परियोजना पहिले पनि रहेको उल्लेख गर्दै यसपटक इलामका लागि नयाँ योजना नदेखिएको विषयमा पुनः स्पष्टता खोजे ।

जवाफमा मन्त्री पौडेलले ‘क्रमागत योजना परेको ठाउँमा थपिएको योजना नपर्नु स्वाभाविक हो’ भने ।

मन्त्रीको यो जवाफले राईले उठाएको मुख्य प्रश्न भने प्रस्ट पारेन । राईले बजेट पुस्तिकामा इलामको नाम नदेखिएको र नयाँ योजना नभएको विषयमा जवाफ मागेका थिए । मन्त्रीले भने स्थानीय तह र पर्यटकीय क्षेत्रका लागि विनियोजन गरिएको रकमको विवरण सुनाए ।

यसरी प्रश्नको केन्द्रमा रहेको नयाँ योजना र बजेट पुस्तिकामा इलामको नाम नपर्नुको कारण स्पष्ट नगरी मन्त्रीले रकम विनियोजनका विवरण प्रस्तुत गरेपछि प्रश्नोत्तर गोलमटोल बनेको देखिएको हो ।