`

अध्यक्षका दाबेदार पोखरेलले महासचिवलाई बुझाए दस्ताबेज (तस्बिरहरू)

काठमाडौं।  एघारौं महाधिवेशनका लागि आफूले तयार पारेको दस्ताबेज वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले महासचिव शंकर पोखरेललाई बुझाएका छन् । अध्यक्ष केपी शर्मा ओली पार्टी कार्यालय च्यासल नआएपछि पोखरेलले महासचिव शंकरलाई पत्र बुझाएको बताइएको छ ।

पोखरेल दस्ताबेज बोकेर अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्टी मुख्यालय च्यासलमा पुगेका थिए ।

राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु

चितवन ।  राप्ती र नारायणी नदीमा घडियाल गोही गणना तथा अनुमगन सुरु गरिएको छ । आइतबारदेखि गणनाको कार्य सुरु गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार यही मङ्सिर २१ देखि २८ गतेसम्म गोही गणना तथा अनुगमन गर्न लागिएको हो । उनले भने, “हरेक वर्ष गोही नदीमा छाडिन्छ, तिनको अवस्था बुझ्नका लागि गोही गणना तथा अनुगमन गर्ने गरिएको हो ।”

राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही हरेक वर्ष प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ । ती गोहीको सङ्ख्याका लागि गणना गर्न लागिएको हो । थापाका अनुसार राप्ती नदीको लोथरदेखि गोलाघाट हुँदै त्रिवेणीसम्म र नारायणी नदीको गाँजीपुरदेखि गोलाघाटको राप्ती नदीसँगको सङ्गमस्थलसम्म गणना गरिने छ ।

गोही गणनाका लागि निकुञ्जका प्राविधिक, नेपाली सेना र बोटे समुदायका व्यक्ति परिचालन गरिएको उनले बताएका छन् । उनले भने, “गोही गणना तथा अनुगमनका लागि आठ जनाको टोली खटिएको छ ।” गणनाका लागि नदीमा भएका भङ्गालाहरुमा आधारित भएर समय बढी लाग्नसक्ने उनले जानकारी दिएका छन् ।

यहाँ हुर्काइएका घडियाललाई देशका विभिन्न नदीमा छाड्ने गरिन्छ । सन् १९९५ देखि हालसम्म देशका विभिन्न नदीमा गरी दुई हजार १०५ गोही छाडिएको उनले जानकारी दिएका छन् । गत आर्थिक वर्षमा १३३ र यस आर्थिक वर्षमा १५ गोही छाडिएको छ । नदीमा छाडिएका गोहीमध्ये कतिपयलाई नदीले बगाएर लैजाने गर्दा गोहीको सङ्ख्या अपेक्षाकृत हुन नसकेको उनले बताएका छन् ।

गत वर्ष गरिएको गणनाका क्रममा ती नदीमा ३५२ वटा घडियाल गोही भेटिएका छन् । राप्ती नदीमा २०६ र नारायणी नदीमा १४६ गोही भेटिएका थिए । घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बङ्गलादेश, भूटान, म्यान्मालगायत देशमा समेत पाइने घडियाल हाल नेपाल र भारतमा मात्रै पाइन्छन् ।

सन् १९४० को दशकमा यसको सङ्ख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको दुई प्रतिशत मात्रै सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढ्दै गएको संरक्षणकर्मी बताउँछन् । नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, माछा मार्नेलगायत कारणले गोहीका प्राकृतिक बासस्थानमा क्षति भइरहेको सूचना अधिकारी थापामगरले बताएका छन् ।

ईश्वर पोखरेलले च्यासल पुगेर बुझाए नेतृत्व परिवर्तनसहितको अवधारणापत्र

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन् । पोखरेलले आफ्नो समूहका नेताहरूसहित पार्टी कार्यालय च्यासल पुगेर अवधारणापत्र महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरेका छन् । उक्त अवधारणापत्र नेतृत्व परिवर्तनको निष्कर्षसहितको दस्तावेज भएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिएका छन् । पोखरेलको अगुवाइमा बनेको अवधारणापत्र सार्वजनिक पनि गरिने उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिएका छन् ।

उनका अनुसार महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका पोखरेल समूहले उक्त अवधारणापत्र आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछ । पोखरेलले तयार पारेको उक्त अवधारणापत्र नेतृत्व परिवर्तनको निष्कर्षसहितको दस्तावेज भएको उपाध्यक्ष पाण्डेले बताए । ओलीले महाधिवेशनमा आफूले मात्र बोल्ने र थप छलफल नहुने बताएका बेला पोखरेलले भने महाधिवेशनमा खुला बहस हुनुपर्ने अडान लिएका छन् । उनले भदौ २३ यता उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गर्दै नयाँ कार्यदिशासहित राजनीतिक, सांगठनिक र विधानका प्रस्तावमा नयाँ निष्कर्ष आवश्यक रहेको बताएका छन् ।

सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु

खार्तुम ।  सुडानको दक्षिण कोर्डोफान राज्यको कालोगी क्षेत्रमा बिहीबार भएको मानवरहित विमान आक्रमणमा मृत्यु सङ्ख्या ११४ पुगेको राज्य सरकारले आइतबार जनाएको छ, जसमा ६३ बालबालिका छन् भने करिब ७१ जना घाइते भएका छन् ।

राज्यपाल मोहम्मद इब्राहिम अब्देल करिमका अनुसार स्थानीय स्वास्थ्य सेवा अपर्याप्त रहेकाले गम्भीर घाइतेहरूलाई अन्य अस्पतालमा सार्नुपरेको र त्यसैले मृत्यु सङ्ख्या अझै बढ्न सक्ने सम्भावना रहेको बताइएको छ ।

सुडानी अधिकारीहरूले अब्दुलअजिज अल–हिलु नेतृत्वको विपक्षी सशस्त्र समूहले द्रुत सहयोग बलसँग मिलेर नागरिक बस्तीमै लक्षित गरी आक्रमण गरेको आरोप लगाएका छन्, तर दुवै पक्षले घटनाबारे टिप्पणी गरेका छैनन् । प्रारम्भिक रूपमा स्वयंसेवी समूहहरूले ९ जनाको मृत्यु र ७ जना घाइते भएको जानकारी दिएका थिए, जुन पछि राज्य सरकारले अद्यावधिक गर्दै मृतक सङ्ख्या ७९ पुगेको जनाएको थियो ।

सन् २०२३ को अप्रिलदेखि जारी युद्धले दशौँ हजारको ज्यान लिएको तथा लाखौँ नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसंघका निकायहरूले जनाएको छ, साथै पछिल्ला दिनमा कोर्डोफान क्षेत्रमा हिंसा बढ्दै गएर नागरिक कष्ट झन् गहिरिँदो चेतावनीसमेत दिएको छ ।

थाइल्यान्ड–क्याम्बोडिया बिच तिव्र सीमा विवादः थाइल्यान्डद्वारा हवाई आक्रमण

बैङ्कक । थाइल्यान्डले सोमबार आफ्नो छिमेकी क्याम्बोडियामा हवाई आक्रमण सुरु गरेको छ । दुबै पक्षले सीमा विवादका कारण एकअर्कामाथि आरोप–प्रत्यारोप जारी राखेका छन् । यस झडपमा कम्तीमा एक थाई सैनिकको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

यो झडपको कारण यस वर्षको गर्मीमा भएको पाँच दिन लामो लडाइँसँग जोडिएको छ, जसमा ४३ जनाको मृत्यु भएको थियो र दुबै पक्षका लगभग तीन लाख मानिस विस्थापित भएका थिए । त्यसपछिको शान्ति सन्धि लागू भए पनि अक्टोबरमा थाइल्यान्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा भएको सम्झौता रोक्दा सीमा तनाव फेरि बढेको हो ।

सीमावर्ती क्षेत्रका हजारौं नागरिकले आफ्ना घर छोड्न बाध्य भएका छन् । थाइल्यान्डको सुरिन प्रान्तका किसान वोरथमले भन्नुभयो,“गाउँका प्रमुखले सुरक्षित स्थानमा जान भन्नासाथ मैले तुरुन्तै विस्थापित हुनुपर्यो । जुलाईमा भएको झडप सम्झँदा डर लाग्यो ।”

थाइल्यान्डका सेना क्षेत्रका अनुसार हालसम्म ३५ हजारभन्दा बढी नागरिक विस्थापित भएका छन् । क्याम्बोडियाका अधिकारीहरूका अनुसार ओडर मियाँचे प्रान्तमा कम्तीमा एक हजार १५७ परिवार सुरक्षित स्थानमा पुगेका छन् ।

थाइल्यान्डको सेना अनुसार हवाई आक्रमण केवल क्याम्बोडियाका सैनिक लक्ष्यमा केन्द्रित गरिएको हो, र नागरिकलाई असर नगर्न प्रयास गरिएको छ । तर क्याम्बोडियाले केही नागरिक घाइते भएको र घरमा आगो लागेको जनाएको छ ।

अमेरिका, चीन र मलेसियाले यसअघि झडप रोक्न मध्यस्थता गरेका थिए । मलेसियाका प्रधानमन्त्री अनवार इब्राहिमले दुबै पक्षलाई शान्ति कायम राख्न र कूटनीतिक समाधान अपनाउन आग्रह गरेका छन् ।

श्रीलङ्ककाको अवस्था सामान्य बन्दै

कोलम्बो ।  विनासकारी चक्रवातले नित्याएको भारी वर्षा पछि हाल देश भरका सबै जलाशयको जलस्तर निरन्तर सामान्य हुँदै गएको श्रीलङ्काको सिँचाइ विभागले सोमबार जनाएको छ ।

सिँचाइ निर्देशक (जलविज्ञान तथा विपद् व्यवस्थापन) एल. एस. सूरियाबन्दराले विभागका अनुगमन केन्द्रहरूबाट प्राप्त तथ्याङ्कले हाल बाढीको स्तर सामान्य भएको पुष्टि गरेको पत्रकारहरू समक्ष बताएका हुन् ।

सामान्य बर्षा भएता पनि प्रमुख जल क्षेत्र र मुख्य नदीहरुमा वर्षाले नदीको जलस्तर उल्लेखनीय वृद्धि नहुने अपेक्षा गरिएको जनाएको छ ।

यसैबीच, बिस्तारै अतिरिक्त पानी छोड्न लग भग ३० वटा प्रमुख जलाशयहरूमा गेटहरू खोलिएको उनले बताएका छन् ।

आगामी दिनमा थप वर्षा हुने अपेक्षा गरिएको उल्लेख गर्दै सिँचाइ विभागले बदलिँदो अवस्थाबारे नियमित अपडेट जारी गरिरहने र जनता सतर्क रहनुपर्ने सुरियाबन्दरले बताएका छन् ।

हाल, श्रीलङ्का मनसुन वर्षाको मौसमबाट गुज्रिरहेको छ भने चरम मौसमी बर्षाका कारण आएको बाढी र अन्य प्रकोप बाट ६०० भन्दा बढी श्रीलङ्कालीको मृत्यु भएको छ जनाइएको छ ।

 

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र

संयुक्त राष्ट ।  संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेखिएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ । सहयोग कार्यक्रमहरूका लागि आवश्यक रकम निकै कमी हुँदा यस वर्षको माग सीमित दायरामा प्रस्तुत गरिएको संयुक्त राष्ट्रले जनाएको छ ।

संयुक्त राष्ट्रका मानवतावादी प्रमुख टम फ्लेचरले २०२५ भरि विभिन्न देशहरूमा देखिएका हिंसा, यौन अत्याचार, मानवअधिकार उल्लङ्घन र कानूनको अवज्ञाले आफूलाई गम्भीर रूपमा दुखित बनाएको बताएका छन् । उनका अनुसार, “यो त्यस्तै समय हो जब नियमहरू कमजोर भइरहेका छन् र विश्वको ध्यान मानव पीडाबाट बिस्थापित हुँदै गएको छ ।”

संयुक्त राष्ट्रले गाजा, युक्रेन, सुडान र म्यानमा जस्ता सङ्कटग्रस्त क्षेत्रमा आठ करोड ७० लाख मानिसलाई सहयोग गर्न कम्तीमा २३ अर्ब अमेरिकी डलर उठाउने लक्ष्य राखेको छ । सन् २०२६ मा १३ करोड ५० लाख मानिसलाई सहयोग पु¥याउन ३३ अर्ब डलर आवश्यक पर्ने अनुमान छ, तर यो लक्ष्य हासिल गर्न चुनौतीपूर्ण छ ।

संयुक्त राष्ट्रको अनुमान अनुसार, युद्ध, महामारी, प्राकृतिक प्रकोप वा जलवायु परिवर्तनबाट प्रभावित करिब २४ लाख मानिसलाई आपतकालीन सहायता आवश्यक छ ।

गाजा र पश्चिमी किनारा प्राथमिकतामा छन् । संयुक्त राष्ट्रले यहाँ ३० लाख मानिसलाई सहयोग गर्न चार अर्ब १० करोड डलर माग गरेको छ । सुडानमा हिंसाबाट विस्थापित २० लाख मानिसलाई सहयोग गर्न दुई अर्ब ९ करोड डलर उठाउने योजना छ ।

फ्लेचरले सुडानको टाविला घटनाको उदाहरण दिँदै भने,“एक आमा आफ्ना पति र बच्चा हत्या भएको देखेपछि बच्चासहित भागिन् । उेनले धेरै पीडा सहिन्, तर साहस अझै बाँकी थियो ।”

संयुक्त राष्ट्रले सदस्य राष्ट्रहरूलाई ८७ दिनभित्र सहयोग जुटाउन आग्रह गर्नेछ । यदि माग पूरा भएन भने, नागरिक समाज, निजी क्षेत्र र साधारण मानिससम्म अभियान फैलाइनेछ । फ्लेचरले भन्नुभयो,“हामी विश्वले रक्षा खर्चमा खर्च गरेको रकमको केवल एक प्रतिशत भन्दा अलिकति मात्र मानवतावादी सहयोग माग गर्दैछौं । रक्षा खर्च कम गरेर मानवतावादी सहायता बढाउनुपर्छ ।”

हर्क साम्पाङको दाबी : हामी चुनाव जित्छौं, सरकार बनाउँछौं

काठमाडौं । श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नो पार्टीले चुनाव जितेर सरकार गठन गर्ने दाबी गरेका छन् । काठमाडौंको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले यस्तो दावी गरेका हुन् । ‘जेनजी आन्दोलनमा भएको तर नबोलिएको एउटा सत्य के हो भने हाम्रो विचार अनुसारको राज्य पनि हुनुपर्छ भन्ने हो । त्यसकारण हामीले घोषणापत्रमै लेखेका छौं,’ साम्पाङले भने, ‘हामीले नै जित्छौं, कुनै शंका छ ? हामीले नै जित्छौं, हामीले नै सरकार गठन गर्छौं ।’

आफूहरूको नेतृत्वको सरकारले जेनजीको माग सम्बोधन गर्न आयोग बनाउने पनि उनले बताए । ‘त्यसपछि जेनजीको एउटा आयोग बनाउँछौं । जेनजीले के भन्न चाहेको छ भन्ने बुझ्नुपर्‍यो नि । ८० वर्षको पुस्ता र हिजो अस्तीको युवापुस्ताले भनेको कुरा बुझ्छ ?,’ साम्पाङले भनेका छन् । यो देशको अग्रगामी छलाङ मार्ने योजना आफ्नो पार्टीले ल्याउने उनको जिकिर थियो ।

‘क्रान्तिकारी विकास आजको आवश्यकता’
अध्यक्ष हर्क साम्पाङले क्रान्तीकारी विकास आजको आवश्यकता भएको बताएका छन् । उनले देशको संस्कृतिसँग युवालाई जोड्दै मुलुकलाई आर्थिक समुन्नतिको बाटोमा डो¥याउने अभियानमा गोलवद्ध हुन समेत सबै युवाहरुलाई आग्रह गरे । आफ्नो पार्टीले विदेशी ऋणको भरमा बाटो र पुल बनाउने कुरा नगर्ने उल्लेख गदै उनले श्रमदानमार्फत मुलुकलाई विकास र समृद्धिको दिशामा लैजाने कुरामा प्रतिबद्ध रहेको पनि बताए ।

उनले भने, ‘श्रम संस्कृति पार्टीले यो देशको संस्कृतिसँग युवालाई जोड्न चाहन्छ । यो पार्टीले स्वाधीनताको कुरा गर्छ । विदेशी ऋणको भरमा बाटो र पुल बनाउनु पर्छ भन्दैन । यही देशको स्रोत र श्रमलाई परिचालन गरेर मुलुकलाई आर्थिक उन्नतिको दिशामा अगाडि बढाउन चाहन्छ । देशलाई विदेशी चलखेलको रणमैदान हुनबाट बचाउन निस्केको अभियान हो श्रम संस्कृति पार्टी । पुराना पार्टीहरुले काम गर्छन् भनेर पर्खिन सकिँदैन । सबै जना यो अभियान जोडिनुहोस् । क्रान्तिकारी विकास आजको आवश्यकता हो । ठेकेदारले एक वर्षमा गर्ने काम श्रमदानमार्फत एक महिनामै गर्न सकिन्छ भने किन क्रान्तीकारी विकास नगर्ने ?’ उनले पुराना राजनीतिक दलहरुले विकास गर्छन् भन्दै पर्खिने स्थिति नरहेको पनि बताए । उनले पुराना राजनीतिक दलहरुले मुलुक र जनताको हितमा काम गर्न नसकेको टिप्पणी गर्दै अगामी निर्वाचनमा श्रम संस्कृति पार्टीमा जोडिन सबैलाई आह्वान समेत गरे ।

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

हनोई । भियतनाम नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा झन्डै ११.४ प्रतिशतले बढी हो ।

प्राधिकरणका निर्देशक उओङ भियेत दुङका अनुसार यो वृद्धि सन् २०२६ मा पनि कायम रहनेछ, र त्यो वर्ष यात्रु सङ्ख्या ९५ लाखसम्म पुग्ने अपेक्षा गरिएको छ ।

यस वर्षका पहिलो ११ महिनामा भियतनामको हवाई क्षेत्रमार्फत ६९.३ लाख यात्रु आवागमन गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा १०.८ प्रतिशतले वृद्धि भएको हो ।

यसमध्ये, आन्तरिक उडानमार्फत ३०.९ लाख यात्रु भएका छन्, र अन्तर्राष्ट्रिय उडानमार्फत ३८.४ लाख यात्रु आवागमन भएको तथ्याङ्कमा उल्लेख छ ।

ईश्वरले तयार गरे छुट्टै दस्तावेज, च्यासलमा ओलीलाई बुझाउने

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष केपी ओलीले आफ्नो एकल प्रस्ताव मात्र लैजाने अडान लिएका बेला वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मतसहित छुट्टै राजनीतिक प्रस्ताव (दस्तावेज) आज दिउँसो ३ बजे पेस गर्ने भएका छन् । अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाउन लागिएको हो । ओलीले महाधिवेशनमा आफूले मात्र बोल्ने र थप छलफल नहुने बताएका बेला पोखरेलले भने महाधिवेशनमा खुला बहस हुनुपर्ने अडान लिएका छन् । उनले भदौ २३ यता उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गर्दै नयाँ कार्यदिशासहित राजनीतिक, सांगठनिक र विधानका प्रस्तावमा नयाँ निष्कर्ष आवश्यक रहेको बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेल पक्षका नेताहरू अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्टी मुख्यालय च्यासल जाँदैछन् । पोखरेलको नेतृत्वमा तयार पारिएको अवधारणापत्र बुझाउन उनीहरू केहीबेरपछि पार्टी मुख्यालय च्यासल जाने तयारी भएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिएका छन् । ‘नेताहरूले तयार गर्नु भएको छ । हामी अध्यक्ष ज्यूको समय लिएर भेट्न जाँदै छौँ,’ पाण्डेले भने । स्थायी कमिटी सदस्य कर्ण थापाले अवधारणापत्रमा व्यक्तिवादी चरित्र हावी भएको भन्दै त्यसलाई अन्त्य गर्न सुझाव समेटिएको बताएका छन् । त्यस्तै, हरेक कमिटीमा सामूहिक लोकतान्त्रिक पद्धतिको नेतृत्वलाई आत्मसात गर्नुपर्ने र व्यक्ति सर्वेसर्वा हुने पद्धतिको अन्त्यको माग अवधारणापत्रमा राखिएको छ ।

‘जेन–जी आन्दोलनपछिको बदलिएको परिस्थितिमा गाली र विरोध मात्रै गरेर हुँदैन भन्ने कुरालाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘यस्तो परिस्थिति आउनुमा आन्तरिक कारण मुख्य हुन् । बाह्य कारण पनि छन् भने पहिल्याउनुपर्छ भन्ने हाम्रो मुख्य कुरा छ ।’ अहिले पोखरेल पक्षका नेताहरू बागबजारको होटेल हार्दिकमा सामूहिक पत्रकार सम्मेलन गरिरहेका छन् । जसमा नेता पाण्डेसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, योगेश भट्टराईलगायत छन् । वरिष्ठ उपाध्यक्ष आउने टुंगो नलागेको बताइएको छ । उनी ओलीलाई बुझाउने अवधारणापत्रको अन्तिम रूप दिन लागिपरेका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । महाधिवेशन २७–२९ मंसिरमा काठमाडौंमा हुँदैछ ।

जेनजी आन्दोलनमा विध्वंस मच्चाउनेमाथि कारबाही हुन्छ : अर्थमन्त्री खनाल

कैलाली । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनमा विध्वंसकारी गतिविधि गर्नेहरूमाथि कारबाही हुने बताएका छन् । सुदूरपश्चिम प्रदेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भवन अनुगमन गर्दै उनले छानबिन समितिको रिपोर्टपछि जेनजी आन्दोलनमा भएको क्षतिहरूबारे प्रष्ट भन्न सकिने बताए । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका आगजनी तोडफोड भएको थियो । क्षतिग्रस्त भवनको कार्यालयमा अनुगमनमा क्रममा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उनले आफूले अहिले यस विषयमा अहिल्यै धेरै बोल्न उपयुक्त नहुने बताएका थिए ।

‘मैले अहिले बोल्ने उपयुक्त हुँदैन । पहिलो कुरा त यसको छानबिन भइरहेको छ । उच्चस्तरीय छानबिन समितिले रिपोर्ट दिनुपर्‍यो । त्यहाँ कति राजनीतिक आन्दोलनकारी हुन् कति विध्वंसकारी अथवा गलत गतिविधि गर्नाको लागि हो मलाई छुट्टाउने अधिकार छैन नि । त्यो समितिको प्रतिवेदन आउनु पर्छ’ उनले भने, ‘निश्चित रूपमा स्थानीय प्रशासन ऐन बमोजिम कसैले त्यस्तो गलत गतिविधि गरेको रहेछ भने कानुनी कारबाही हुन्छ ।’

उनले देशैभरी पुनर्निर्माणको काम अघि बढिरहेको बताएका थिए ।मुलुकभरी ध्वस्त भएका सरकारी कार्यालयहरू पुर्न निर्माणमा सरकार लागिरहेको समेत उनको भनाइ थियो । ‘प्रदेश सरकारले खर्चको मूल्याङ्कन गरिरहेको छ । त्यसमा केहीगरि रकमको अभाव भएको अवस्थामा संघीय सरकारले पुनर्निर्माणको आर्थिक सहयोग गर्छ’ उनले भने ‘कतिपय कार्यालयहरूको काम नै सुरु भइसकेको छ । केहीमा पुनर्निर्माण जारी छ ।’

तीन वर्षभित्र सबै पुनर्निर्माण पुरा भइसक्ने उनको दाबी थियो । सरकारको पहिलो प्राथमिकता निर्वाचन रहेको भन्दै अर्थमन्त्री खनालले स्वच्छ, भयरहित निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गरेका थिए । आजबाट सुरु हुने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न मन्त्री खनाल धनगढी पुगेका थिए । उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री कमल बहादुर शाहसँग भेटवार्ता समेत गरे । भेटमा सभामुख भीम भण्डारी, आर्थिक मामिला मन्त्रीबहादुर थापा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा लगायत सहभागी थिए ।

 

 

 

गोवाको क्लबमा भएको आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु

नयाँदिल्ली । भारतको गोवा स्थित पर्यटकीय रिसोर्ट क्षेत्रमा रहेको भारतीय नाइटक्लबमा आगलागी हुँदा चार जना नेपालीसहित २५ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् ।

आइतबार गोवामा भएको आगलागीको घटनामा चार जना नेपाली नागरिकसहित २५ जनाको ज्यान गएको घटना प्रति दुःख व्यक्त गर्दै नेपालका राजदूत शङ्कर शर्माले विज्ञप्ति जारी गरेका छन् ।

उनले विज्ञप्ति मार्फत शोकाकुल परिवारहरूप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गरेका छन् ।

मृतकहरू मध्ये अधिकाशं भारतीय नागरिक रहेको र मुख्यतया नाइट क्लबका कर्मचारीहरू, साथै नयाँ दिल्लीबाट छुट्टी मनाउन आएकाहरू रहेको जनाइएको छ ।

गेवाको उत्तरमा रहेको अर्पोराको एउटा क्लबमा आगलागी भएको जनाउदै अधिकारीहरूले “विद्युतीय पटाखाहरूले आगलागी गराएको हुन सक्ने बताएका छन् ।

क्लबको काठका भागहरू बाट सुरु भएको आगलागीले फैलिए पछि अधिकांशको मृत्यु भएको जनाइएको छ ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले घटनाको अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको तथा अन्य नाइट क्लबहरूमा अनुसन्धानको आदेश दिएको बताएका छन् ।

प्रचण्ड–नेपाल र खनाललाई ज्ञवालीको प्रश्न : ४,१८४ दिन सरकारमा तपाईहरू बस्ने, दोष ओलीले लिनुपर्ने ?

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) द्वारा आयोजित ‘एकता सन्देश सभा’ केन्द्रित नेकपाका शीर्ष नेताहरूमाथि कडा प्रश्न उठाएका छन् । उपमहासचिव ज्ञवालीले माओवादी आन्दोलनदेखि सिद्धान्तगत दिशासम्मका मुद्दामा पार्टीभित्र स्पष्टता नआएको आरोप लगाउँदै प्रश्न उठाएका हुन् ।

ज्ञवालीले पहिलो प्रश्न माओवादी विचार र ब्रान्ड परित्यागका विषयमा उठाए। ’दुई दशकसम्म ‘माक्र्सवादको विकासको तेस्रो आयाम’ भनेर दाबी गरिएको माओवादलाई किन मार्गदर्शक सिद्धान्तबाट हटाइयो? ‘माओवादी’ पहिचान किन परित्याग गरियो? कुनै स्पष्टीकरण छैन,’ उनले भने । त्यसै गरी जनयुद्धकालीन क्षति तथा त्यसको राजनीतिक–ऐतिहासिक विरासत समेत ‘अलपत्र छाडिएको’ आरोप उनले लगाए । एमालेले प्रस्तुत गरेको ‘जनताको बहुदलीय जनवाद’का २३ आधार आज कहाँ पुगे भन्ने प्रश्न समेत उनले उठाए । ‘तत्कालीन प्रस्तोताले आजसम्म कुनै तर्कसंगत जवाफ दिएका छैनन्,’ ज्ञवालीले उल्लेख गरे ।

यस्तै, एमसिसी लगायत विवादास्पद विषयमा ‘नोट अफ डिसेन्ट’ लेख्ने तथा त्यसलाई पारित गराउन निर्णायक भूमिका खेलेका नेताहरू कुन एजेन्डामा विलय भए भन्ने प्रश्न पनि उनले सोधे । गणतन्त्र स्थापनापछिका १७ वर्षमा विभिन्न नेताहरूले पटक–पटक सरकार र नेतृत्व सम्हालेको उल्लेख गर्दै ज्ञवालीले आजका सबै समस्या एक्लै केपी शर्मा ओलीलाई थोपर्न खोजिनु अन्यायपूर्ण भएको टिप्पणी समेत गरे । प्रदेशस्तरमा चलेका ‘गाली–पुराण’को प्रसंग जोड्दै उनले नेता राजेन्द्र श्रेष्ठले एमालेको सदस्यता घटेर ३ लाखमा झरेको दाबी गरेको विषयलाई व्यंग्य गर्दै भने, ’मानौँ उहाँ केही दिन अगाडिसम्म संगठन विभागमा डेटा इन्ट्री गर्ने कम्प्युटर अपरेटर भए जस्तै ।’

सभालाई लक्षित गर्दै उनले थपे, ‘अकबरले कोरेको धर्कोलाई छोटो बनाउन वीरबलले जस्तै छेउमा लामो धर्को कोर्नुहोस् । एमालेभन्दा ठूलो, राम्रो र सक्षम पार्टी बनाउन सक्नुहुन्छ भने बनाइ दिनुहोस् । तर स्रोता समेत दिक्क हुने गरी कति गाली सप्ताह चलाउने ?’ उनले गणतन्त्र स्थापनादेखि भदौ २४ गतेसम्मका कुल १७ वर्ष ३ महिना १० दिन (कुल ६ हजार ३०५ दिन) मध्ये नेतृत्वमा २,५४२ दिन (प्रचण्ड १,१५४, बाबुराम ५६२, माधव ६२२ र झलनाथ २०४) र सरकारमा ४१८४ दिनभन्दा बढी सहभागी हुँदाका गुण दोषको कुनै जिम्मा लिनु नपर्ने, तर आजको समग्र संकटको जवाफदेही चाँहि १,९६१ दिनसम्म नेतृत्व गरेका केपी शर्मा ओलीले लिनु पर्ने हो ? भन्ने प्रश्न पनि गरेका छन् ।

 

गाजा सङ्कट समाधानका लागि द्विपक्षीय संवाद सुरु हुने

जेरेसलम ।  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेटान्याहुले यस महिनाको अन्त्यतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरी गाजाका लागि अमेरिकी मध्यस्थतामा अगाडि बढिरहेको युद्धविरामको दोस्रो चरणबारे छलफल गर्ने घोषणा गरेका छन् ।

अक्टोबर १० मा लागू भएको अमेरिकी मध्यस्थतामा तय युद्धविरामको बावजूद गाजामा पूर्ण शान्ति अझै कायम भएको छैन । दुई वर्षअघि हमास विद्रोहीहरूले इजरायलमाथि हमला गरेपछि यो सम्झौता भएको हो । तर, इजरायल र हमासले एकअर्कालाई उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् ।

नेटान्याहुले भने,“हामी चाँडै दोस्रो चरणमा प्रवेश गर्ने अपेक्षा राख्छौं, जुन पहिलो चरणभन्दा कठिन हुनेछ ।” उनले ट्रम्पसँग ‘क्षेत्रमा शान्तिका अवसर’ बारे छलफल गर्ने योजना रहेको बताएका छन् ।

जर्मनीका चान्सलर फ्रिडरिक मर्जले पनि दोस्रो चरण तुरुन्त सुरु हुनुपर्ने बताए र द्वि–राज्य समाधानतर्फ जर्मनीको समर्थन रहेको स्पष्ट पारेका छन् ।
पहिलो चरणमा, प्यालेस्टिन विद्रोहीहरूले बाँकी रहेका ४७ इजरायली बन्धकलाई रिहा गरेका छन् । दोस्रो चरणमा, अमेरिकी प्रस्तावअनुसार इजरायली सेनाको थप फिर्ती मुद्दा समाधान गरिने अपेक्षा छ ।

गाजामा हमासका प्रमुख खालिल अल–हैय्याले भने,“यदि इजरायली कब्जा अन्त्य हुन्छ भने हामी हतियार फिर्ता गर्नेछौं । हाम्रो हतियार कब्जा र आक्रमणसँग जोडिएको छ, र कब्जा अन्त्य भए राज्यलाई हस्तान्तरण गरिनेछ ।”

दोस्रो चरणका लागि हमास र अन्य प्यालेस्टिन समूहका हतियारको विषय अझै छलफलमा छन् । हमासले पहिले शस्त्र त्याग अस्वीकार गरेको थियो भने इजरायलले हमास र अन्य समूहका हतियार फिर्ता गर्नु दोस्रो चरणको मुख्य शर्त बनाएको छ ।

युद्धविरामको अवधि सुरु भए पनि गाजामा ३६० भन्दा बढी प्यालेस्टिन मारिएका छन्, जससँगै प्यालेस्टिन मृतकको सङ्ख्या ७० हजार ३६० पुगेको छ । यसैबीच, तीन इजरायली सैनिकको पनि मृत्यु भएको छ ।

समयको मागअनुसार ओलीको विकल्पमा ईश्वर पोखरेल : युवराज ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले ११ औं महाधिवेशनमा समयको मागअनुसार नेतृत्व परिवर्तनको विकल्प नभएको दावी गरेका छन् । काठमाठौंमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको विज्ञानको युगले नयाँ नेतृत्वको माग गरेकाले नेतृत्व फेरेर जानुपर्ने विषयमा प्रष्ट हुनुपर्ने बताएका छन् । उनले भने, ‘समयको महत्व बुझ्नु पर्छ, पुरानाको योगदानको सम्मान गर्दै नयाँलाई नेतृत्व दिनुपर्छ । जतिसक्यो छिटो नयाँले काम गर्न सक्छन् त्यो पुरानाले गर्न सक्दैनन् ।’ ज्ञवालीले पुराना पिँढीका नेताहरु कहिलेसम्म रहने ? भन्दै प्रश्न समेत गरेका छन् ।

‘अरुको उदाहरण दिएर हुँदैन हामीले नयाँ उदाहरण विकास गरौं न नयाँ नेतृत्वलाई दिएर । माओवादीको हिंसात्मक अभियानलाई हामीले नयाँ ढंगले निकास दिएका थियौं नि’, ज्ञवालीले भने । ईश्वर पोखरेल व्यक्तिलाई नभएर नयाँ नेताका रुपमा अघि सारिएको ज्ञवालीले बताए । ‘अध्यक्ष केपी ओलीको विषयमा हाम्रो यही आलोचना हो । सामुहिक नेतृत्व नै उन्नत लोकतन्त्रको नमुना हो, एकल नेतृत्व सहज चल्न सक्दैन । हाम्रो पार्टीमा सामुहिक नेतृत्व भएन, नीति होइन नेता प्रधान भयो ।’ ज्ञवालीले भने ।

‘आलोचना नभई नेतृत्व सुध्रन सक्दैन भन्ने विषयमा प्रष्ट हुनुपर्छ । माक्र्सवादमा आलोचना हुन्छ, पार्टी सिद्धान्तमा आचोलना लागू भएन, त्यसैले नयाँ नेतृत्व हामीले खोजेका हौं,’ ज्ञवालीले भने, ‘यो धर्तीमा कमी नभएको मान्छे कोही हुँदैन तर हरेक कमजोरी सच्याउने प्रणाली अघि बढाउन नयाँ नेतृत्व अघि बढाएका हौं । करेक्सन बिना पार्टीको विकास हुँदैन, ओलीको नेतृत्वमा धेरै राम्रो काम भएका छन् तर कमजोरी पनि छन् ।’

‘जेन–जी आन्दोलनका क्रममा २३ गते उठेका जायज मागको समर्थन गर्नुपर्ने ज्ञवालीले बताएका छन् । उनले भने, ‘जेन–जीले उठाएका माग हाम्रा पनि माग हुन् तर २४ गते विध्वंश भयो । यो निकै ठूलो क्षतिको कारण खोजिनु पर्दछ किनकि हाम्रो नेतृत्वमा सरकार थियो, सबै दोष अरुलाई लगाएर हुँदैन । मेचीदेखि महाकालीसम्म यति ठूलो विरोध कसरी भयो ? हाम्रा कमजोरी त सच्याउन पर्‍यो नि ।’

 

 

ओलीले पञ्चायतको गाउँ फर्क शैलीमा महाविधेशन गर्न खोजिरहेका छन् : उपाध्यक्ष पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको महाधिवेशनलाई पञ्चायती व्यवस्थाको गाउँ फर्क शैलीमा गर्न लागेको आरोप लगाएका छन् । नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल पक्षधरहरूले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनकाअनुसार २०३२ सालमा पञ्चायती व्यवस्थामा गाउँ फर्क लागू भएपछि गाउँ फर्कले जसलाई टिकट दिन्छ, सोही व्यक्ति मात्रै पञ्च भएर निर्वाचन लड्न पाउँथे । सोही व्यवस्थलाई ओलीले अहिले पार्टीमा लागू गरेको उनको आरोप छ ।

उनले ओली अध्यक्षमा निर्वाचित भएपछि पार्टीको लोकतान्त्रिक प्रक्रियामै गम्भीर संकट आएको बताए । वर्तमान नेतृत्वले आन्तरिक निर्वाचन प्रणालीलाई सीमित व्यक्तिमुखी बनाउने प्रयास गरिरहेको दाबी गरे । पाण्डेले केपी ओलीकै नेतृत्वमा ७० वर्षे उमेर हद र दुई पटकभन्दा पार्टीको नेतृत्व गर्न नपाउने व्यवस्था गरिएको स्मरण गरे । आठौं महाधिवेशनमा सर्वसम्मत रूपमा पारित गरिएको लोकतान्त्रिक नेतृत्व विधि पछि ९ औंसम्म चलेको उनको भनाई छ।

१० औं महाधिवेशनमा भने पहिला सूची पास गर्ने र सूचीमा रहेका मात्र उम्मेदवार बन्न पाउने भन्ने प्रावधान ल्याइएको र ११ औं महाधिवेशनमा पनि त्यही प्रक्रिया दोहोर्‍याउन खोजेको आरोप लगाए । नेताले चिनेका व्यक्तिलाई मात्र उम्मेदवारी दिने सोचाइले पार्टीभित्रको आन्तरिक लोकतन्त्र समाप्त हुने उनले बताए । पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो नहुँदा नवपुस्ता र जनता माझ एमाले खुम्चिँदै गएको उल्लेख गरे । नेतृत्व चयनमा प्रतिष्पर्धा नहुने र माथिबाट तोकिएको लिष्टमा नेतृत्व चयन हुने प्रचलनमा आएपछि पार्टीप्रति आकर्षण घटिरहेको उनको दाबी छ । चुनाव नहुने, प्रतिष्पर्धा नहुने, माथिबाट लिष्ट बेचिने पार्टीमा किन आउने ? भन्ने प्रश्न नवपुस्ताले उठाउन थालेको उनले बताए ।

उनले भने, ‘उहाँ आफै (केपी ओली) ले अगुवाई गरेर नेतृत्वको लोकतान्त्रिकरण कसरी गर्ने, पार्टीको लोकतान्त्रिकरण कसरी गर्ने भनेर दुई पटक र ७० वर्षको कुरा उहाँकै प्रस्तावमा, उहाँ नै कार्यदलको संयोजक भएर पारित भएको हो । आठौँ महाधिवेशनमा हामीले सर्वसम्वत रुपमा पारित गरेर त्यसपछि निर्वाचन पनि हामीले एकदमै लोकतान्त्रिक ढंगले गर्‍यौँ । ९ औँ मा भयो, १० औँ मा गएपछि उहाँले के भन्नुभयो भने पहिला को उठ्न पाउँछ, त्यो मात्रै मान्छेले उठ्न पाउने, एउटा लिष्ट पास गर्ने र ती लिष्टमा रहेका मान्छेले मात्रै चुनाव लड्न पाउने । यो त गाउँ फर्क शैली होइन र ?’

उनले भने, ‘२०३२ सालमा गाउँ फर्क लागू भएपछि यही कुरा गरेको थियो । गाउँ फर्कले टिकट दिन्थ्यो, ती मात्रै मान्छे पञ्च भएर चुनाव लड्न पाउँथे । अरुले लड्न पाउँदैनथे । अहिले उहाँले के व्याख्या गरिरहनु भएको छ भने कहाँ पूर्वको मान्छेलाई पश्चिमको मान्छेले चिन्छ, दार्चुलाको मान्छेलाई ताप्लेजुङकोले कसरी चिन्ने ? त्यो त नेताले मात्रै चिन्न सक्छ । त्यसकारण नेताले चिनेको मान्छेलाई सबैले भोट हाल्नुपर्छ । यो लोकतान्त्रिक विधि भयो र ? उहाँले धेरै पटक बोल्नु भएको छ । यस्तो विधिबाट पार्टी लोकतान्त्रिक हुँदैन । अझ उल्टो के भने लोकतान्त्रिक इतिहास बोकेको पार्टीलाई व्यक्तिवादी पार्टीमा, केही व्यक्तिको निर्णयबाट चल्ने पार्टीको रुपमा रुपान्तरित गर्ने जुन किसिमको परिस्थिति बन्दैछ, यसले गर्दा नेकपा एमाले जनताको बीचमा साँघुरिने, खुम्चिने, आईसोलेशनमा जाने अवस्था देखा पर्दैछ । विस्तार भएर जानुपर्ने, नवपुस्ताको बीचमा पार्टी विस्तार हुँदै जानुपर्नेमा पनि नवपुस्ताले पनि भन्न थाले चुनाव नहुने पार्टीमा किन जाने आउने ? प्रतिष्पर्धा नहुने पार्टीमा किन आउने ? तोकुवा माथिबाट लिस्ट बेच्ने पार्टीमा किन आउने ? जहाँ हाम्रो कुनै सम्भावना छैन ।’ उनले कानूनमा नै राजनीतिक दलमा एक पटक भन्दा बढी नेतृत्व गर्न नपाउने गरी व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । पुरानामा मात्रै नभएर नयाँ राजनीतिक दलमा पनि नेतृत्व परिवर्तनमा समस्या देखिएको बताए ।

हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

बागमती– हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालयले भत्काएको संरचनाको व्यवस्थापनमा घरधनी र व्यवसायी जुटेका छन् ।

सडक विस्तारका लागि सडक सीमाभित्र परेका भौतिक संरचना भत्काएर सडक किनारमा थुपारिएका इँट्टा, रड, जस्ता, फर्निचर लगायतका भग्नावशेष सरसफाइमा स्थानीय तथा व्यवसायी जुटेका हुन् ।

बिहानैदेखि स्थानीय तथा व्यवसायी आफ्ना घर तथा पसल अगाडिको स्क्र्याब सफा गरिरहेका छन् भने भत्किएका घरका भित्ताका पर्खाल पन्छाउने र सटर निकाल्ने काम गरिरहेका छन् । सडक विस्तारका क्रममा घरको अगाडिको भाग भत्किएपछि बाँकी भग्नावशेष हटाउने र सडकको मापदण्ड छाडेर संरचना निर्माणमा स्थानीय जुटेका छन् ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातमाटेदेखि बुद्धचौक हुँदै राप्ती खोला पुलसम्म तथा त्रिभुवन राजपथअन्तर्गत बुद्धचोकदेखि सामरी पुलसम्मको सडक खण्डमा सडकको मध्य भागबाट दायाँबायाँ २५/२५ गजभित्र निर्माण भएका स्थायी र अस्थायी घरटहरा तथा अन्य संरचनाहरु १५ दिनभित्र हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले यही मङ्सिर ५ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

तोकिएको समय सीमाभित्र घर धनीले त्यस्तो भौतिक संरचना नहटाएको भन्दै सडक डिभिजन कार्यालयले शनिबार रातोमाटेदेखि बुद्ध चोक हुँदै राप्ती पुलसम्मका सडक सीमाक्षेत्रमा पर्ने करिब ५०० भन्दा बढी घर तथा भौतिक संरचना डोजर प्रयोग गरी भत्काएको थियो ।

सर्वोच्च अदालतबाट यही मङ्सिर १९ गते जारी उत्प्रेषण आदेश प्राप्त भएको भन्दै सडक डिभिजन कार्यालयले सडक विस्तार कार्य हाललाई रोकेको छ । सर्वोच्च अदालतबाट जारी उत्प्रेषण आदेशलाई सम्मान गर्दै हाललाई सडक विस्तारका लागि डोजर चलाउने कार्य रोकिएको सडक डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए। सर्वोच्च अदालतको आदेशबारे पत्र आइतबार दिउँसो मात्र कार्यालयमा प्राप्त भएकाले सडक विस्तार कार्य रोकिएको प्रमुख अधिकारीले बताए।

यही मङ्सिर १९ गते सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । यसैबीच हेटौँडा उपमहानगरपालिकाले मुख्य सडक विस्तारका क्रममा भत्काइएका संरचनाका कारण विस्थापित भएका परिवारलाई आवासको व्यवस्थाका लागि सहजीकरण गर्ने भएको छ ।

प्रभावित परिवारलाई आवास व्यवस्थापनका लागि सहजीकरण र समन्वय गर्ने कार्यालयपालिकाबाट निर्णय भएको उपमहानगरपालिका प्रवक्ता सविना न्यौपानेले जानकारी दिए ।

सडक विस्तारबाट प्रभावित भएकाहरूको जग्गाको अंश नरहने तथा अन्यत्र घरजग्गा नभएका घरधनीको वडा कार्यालयमार्फत विवरण संकलन गरी मालपोत कार्यालयबाट विवरण जाँच गराई घरविहीनहरुलाई आयोजनामार्फत आवास व्यवस्थापन गर्न उपमहानगरपालिकाले सहजीकरण गर्ने निर्णय भएको उहाँले बताए।

यस्तै प्रभावित घरधनीहरुको घर निर्माणका लागि लाग्ने खर्च व्यवस्थापनका गर्न सहुलियत दरमा निश्चित समयसम्मका लागि ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय भएको उनको भनाइ छ ।

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

ब्रसेल्स, बेल्जियम ।  युरोपेली सङ्घ (ईयू)ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ खोल्ने योजना पनि समावेश छ । ब्रसेल्समा भेला भएका आन्तरिक मन्त्रीहरूले यी नयाँ उपायहरूमा मतदान गर्नेछन्, जसमा आप्रवासीहरूले यूरोप छोड्न अस्वीकार गरेमा कडा दण्ड र लामो समयको हिरासतको व्यवस्था हुनेछ । नयाँ नियम अनुसार आप्रवासीहरूलाई उनीहरूको मूल देश नभए पनि ईयूले सुरक्षित ठानेको अन्य देशमा फिर्ता पठाउन सकिनेछ ।

डेनमार्कको पहलमा सदस्य राष्ट्रहरू तीव्र गतिमा अघि बढिरहेका छन् । तर फ्रान्सले कानूनीता र प्रभावकारितामा प्रश्न उठाएको छ भने, स्पेनले फिर्ता केन्द्रको कार्यक्षमता पुष्टि गर्न सकेको छैन ।

साथै, ईयूले ठूलो सङ्ख्यामा आगमन हुने देशहरूमा दबाब कम गर्न ३० हजार आश्रयार्थी वितरण गर्ने वा प्रति व्यक्ति २० हजार युरो योगदान गर्ने नयाँ ‘एकता प्रणाली’ लागू गर्ने तयारी गरेको छ । तर कडा आप्रवासन नीति अपनाउँदै गर्दा अन्य देशहरूले अतिरिक्त आश्रयार्थी लिन सहज महसुस गरिरहेको छैन । यसबारे अन्तिम निर्णय वर्षको अन्त्यसम्म आउनुपर्ने दबाब ईयूमाथि रहेको छ ।

चिसोयाममा दर्शकलाई तताउँदै एनपिएल क्रिकेट

काठमाडौँ। काठमाडौँ उपत्यकामा दिनहुँ तापक्रम घटदै चिसो बढिरहेको भए तापनि क्रिकेटको रौनकले वातावरण तताउँदै लगेको पाइएको छ । गतवर्ष जस्तै यो वर्ष पनि जाडोको मौसममा एनपिएल क्रिकेटको दोस्रो संस्करणका रोमाञ्चकारी खेलहरु भैरहेका छन् । वर्षा नहुने मौसममा आयोजना गरिएको यो प्रतियोगितामा नेपालीका साथै अन्तर्राष्ट्रिय रुपमा पहिचान बनाएका विभिन्न मुलुकका खेलाडीले दिनहुँजसो छक्का र चौकाको वर्षा गरेर दर्शकहरुलाई प्रभावित बनाउन सफल भएका छन् । दिउँसो पारिलो घाममा बसेर क्रिकेट हेर्नुको मज्जा बेग्लै छ ।

नेपालमा पहिलोपटक फ्लडलाइटको उज्यालोमा रातीपनि क्रिकेट खेल हुनु ऐतिहासिक उपलब्धि मानिएको छ । नेपाली क्रिकेट खेलाडीहरुले विदेशमा रात्रि खेलको अनुभव गरे पनि नेपालमा भने पहिलोपटक राति खेल्ने अवसर प्राप्त गरेका हुन् । नेपाली दर्शकहरुले पनि पहिलो चोटी रातिको म्याचको रोमाञ्चकारी अनुभव गरिरहेका छन । रातिको चिसोमा पनि कीर्तिपुरस्थित क्रिकेट रङ्गशाला खचाखच भरिने गरेको छ । बिगतमा धुलेमैदानमा बसेर तथा रुखमा झुण्डिएर समेत क्रिकेट हेर्न बाध्य भएका दर्शकहरु रङ्गशालामा निर्माण गरिएको प्याराफिटमा जडान गरिएका रङ्गिन सिटमा बसेर क्रिकेटको आनन्द लिइरहेका छन् । नेपाली दर्शकहरुको क्रिकेटप्रतिको झुकाव देखेर विश्वभरिकै क्रिकेटप्रेमीहरु अचम्म परेका छन् । विभिन्न आठ टिममा आवद्ध अन्तर्राष्ट्रिय ख्यातीप्राप्त खेलाडीलाई पछ्याइरहेका क्रिकेट प्रेमीहरुको माध्यमबाट एनपिएल क्रिकेट विश्वको कुनाकुनासम्म पुग्न सफल भएको छ ।

खेलको पछिल्लो अवस्था

एनपिएल क्रिकेटको प्रारम्भिक चरणको समाप्तिपछि अब खेल झन प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । अङ्क तालिकामा सर्वाधिक चार स्थान हासिल गरेका टिमहरुबीच हुने प्रतिस्पर्धाले अन्तिम नतिजाको निक्र्योल गर्नेछ । नेपालको सबैभन्दा ठूलो क्रिकेट महोत्सब मानिएको एनपिएल क्रिकेटमा कूल ३२ वटा खेल सञ्चालन भैरहेको छ । प्रतियोगितामा सहभागी रहेका आठ वटा टिम प्रत्येकले प्रारम्भिक चरणमा एक अर्को टिमसँग प्रतिस्पर्धा गर्दै कूल सात खेल खेलेका थिए । पहिलो चरणको समाप्तिपछि एनपिएल क्रिकेटको प्लेअफ चरणका खेलहरु मङ्सिर २३ गते मङ्गलबारदेखि सुरु हुँदैछ । राउण्ड रोबिनपछि उच्च अङ्क हासिल गरेका चार वटा टिमबीच प्लेअफ चरण शुरु हुनेछ ।

अङ्क तालिकामा सर्वाधिक १२ अङ्क हासिल गरेको सुदुरपश्चिम रोयल्स टिम तथा दोस्रो सर्वाधिक १० अङ्क प्राप्त गर्ने बिराटनगर किङ्गस टिमबीच मङ्गलबार क्वालिफायर १ को खेल हुनेछ । यसपटक एनपिएल क्रिकेटमा लगातार छ खेलमा विजय हासिल गरेर उच्च मनोबलका साथ मैदानमा उत्रेको सुदूरपश्चिमलाई विराटनगर टिमले आक्रामक खेल प्रस्तुत गरेर शनिबारको खेलमा पराजित गरेपछि मङ्गलबारको खेलमा दुबै टिम अझ आक्रामक रुपमा उत्रने अपेक्षा दर्शकहरुले गरेका छन् । विराटनगर तथा काठमाडौँँ एभेन्जर्स दुबै टिमको समान दश दश अङ्क भए तापनि नेट रनरेटको आधारमा विराटनगरले क्वालिफायर १ मा खेल्ने अवसर पाएको हो ।

यसैगरी मङ्सिर २४ गते बुधबार अङ्क तालिकामा तेस्रो स्थानमा रहेको काठमाडौँँ गोर्खाज र चौथो स्थानमा रहेको लुम्बिनी लायन्स टिमबीच इलिमिनेटर १ खेल हुनेछ । काठमाडाँैं गोर्खाजले लुम्बिनी लायन्सलाई यसअघि लिग चरणमा ५३ रनले हराइसकेको छ । मङ्सिर २५ गते बिहीबार क्वालिफायर २ अन्तर्गतको खेल हुनेछ।उक्त खेलमा प्लेअफ म्याचको बिजेता तथा क्वालिफायर १ पराजित हुने टिमबीच खेल हुनेछ। आगामी मङ्सिर २७ गते शनिवार क्वालिफायर १ का बिजेता तथा क्वालिफायर २ का बिजेताबीच फाईनल खेल हुने कार्यक्रम छ।

प्लेअफ चरणमा पुग्ने टिमहरु

क) सुदूरपश्चिम रोयल्स
कुनै पनि खेलमा सहभागी भएका खेलाडीहरुले सुखद् होस् वा दुःखद् जस्तोसुकै नतिजाको पनि सामना गर्नु पर्ने सन्देश गत शनिबारको खेलपछि सुदूरपश्चिम रोयल्स टिमले हासिल गरेको नतिजाले दिएको छ । एनपिएल क्रिकेटमा यसपाली आफ्नो बर्चस्व प्रदर्शन गर्दै लगातार छ वटा खेल जितेर १२ अङ्कसहित तालिकाको उच्चस्थानमा पुग्न सफल भएको सुदुरपश्चिमले लिग चरणको अन्तिम खेलमा भने बिराटनगरसंग लज्जाजनक रुपमा पराजय भोग्नु प¥यो । उक्त खेलमा सुदूरपश्चिम बिराटनगर किङ्गससँग ४९ बल बाँकी रहेको समयमै ६ विकेटले पराजित भएको थियो । यसअघि दुई वटा खेल बाँकी रहेकै अवस्थामा सुदूरपश्चिम क्वालिफायर १ मा प्रवेश गरेको थियो । एनपिएल क्रिकेटको गतवर्ष पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हराएर सुदूरपश्चिम शीर्ष स्थानमा पुगेको थियो । उकत टिमले चितवन राइनोज टिमलाई ४९ रनले, काठमाडौँ गोर्खाजलाई २९ रनले, पोखरा एभेन्जर्सलाई १८ रनले, कर्णाली याक्सलाई ४५ रनले, लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गरेको थियो । सुदूरपश्चिम टिम गतवर्षको उपविजेता टिम थियो ।

ख) काठमाडौँ गोर्खाज

प्लेअफ चरणमा प्रवेश गर्न सफल दोश्रो टिम काठमाडौँ गोर्खाजले पाँच वटा खेलमा जित्नुका साथै दुई खेलमा पराजय भोगेको थियो । उक्त टिमले जनकपुर बोल्टसलाई ५ विकेटले, लुम्बिनी लायन्सलाई २२ रनले, चितवन राईनोजलाई ५३ रनले, कर्णाली याक्सलाई ५ विकेटले तथा पोखरा एभेन्जर्सलाई १३ रनले हराएको थियो । यसैगरी सो टिमले सुदूरपश्चिम रोयल्ससँग २९ रनले तथा विराटनगर किङ्गससँग ५ विकेटले हार ब्यहोरेको थियो ।

ग) विराटनगर किङ्गस

विराटनगर किङ्गस पनि एक खेल खेल्नु अगाडिनै प्ले अफ चरणमा प्रवेश गरेको थियो । तर सुदूरपश्चिमाञ्चल टिमलाई पराजित गरेपछि विराटनगर र काठमाडौँ गोर्खाजको समान दश–दश अङ्क भएता पनि रन रेटको आधारमा सुदूरपश्चिमसँग क्वालिफायर्स १ खेल्ने मौका पाएको हो । विराटनगरले यसपाली लिग चरणमा पाँच खेलमा जित्नुका साथै दुई खेलमा पराजय ब्यहोरेको थियो । बिराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको थियो । सो खेलमा बिराटनगरले बनाएको २२० रन नै यसपटकको प्रतियोगिताको सर्वाधिक रन बन्न पुग्यो । विराटनगरले काठमाडौँ गोर्खाजलाई ५ विकेटले, गतवर्षको बिजेता जनकपुर बोल्टसलाई ९ रनले, कर्णाली याक्सलाई ३ विकेटले तथा सुदूरपश्चिमलाई ५ विकेटले हराएको थियो । बिराटनगर टिम चितवन राइनोजसँग ४८ रनले तथा लुम्बिनी लायन्ससँग ३ विकेटले पराजित भएको थियो ।

घ) लुम्बिनी लायन्स

लुम्बिनी लायन्सले गतवर्षको विजेता जनकपुर बोल्टसलाई ४ विकेटले हराउँदै प्लेअफ चरणमा पुग्न सफल भएको थियो । प्लेअफमा चौंथो टिमका रुपमा प्रवेश गर्न सफलता पाएसँगै जनकपुरका साथै पोखरा तथा चितवन टिम पनि प्रतियोगिताबट बाहिरिएका छन् । यसअघि लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले,पोखरा एभेन्जर्सलाई ३ विकेटले तथा विराटनगर किङ्गसलाई ५ विकेटले हराएको थियो । उक्त टिम कर्णाली याक्ससँग ९ विकेटले तथा सुदूरपश्चिम रोयल्ससँग ७ विकेटले हारेको थियो । कर्णाली टिम प्लेअफमा भने पुग्न असफल हुने पहिलो टिम थियो ।

सतक कटाउने भाग्यमानी

यसपटक नेपाली तथा विदेशी गरी धेरैले अर्धशतक रन बनाएका थिए तर हालसम्म दुई विदेशी खेलाडी मात्र शतक कटाउन सफल भएका छन् । पोखरा एभेन्जर्सका एडम रोसिङ्गटनले कर्णाली याक्ससंगको खेलमा १०८ रन बनाएका थिए । इङ्गल्याण्डका ३२ वर्षिय रोसिङ्गटनले ५८ बलमा ११ चौका तथा ७ छक्कासहित शतक बनाएका थिए । यस्तै कर्णाली याक्सका लागि स्कटल्याण्डका २९ वर्षिय मार्क वाटले लुम्बिनीविरुद्धको खेलमा ११४ रन बनाएका थिए । हालसम्म सर्वाधिक रन बनाएका खेलाडीहरुमा पोखरा एभेन्जर्सका एडम रोसिङ्गटनले ३२३ रन, कर्णाली याक्सका मार्क वाटले २४२ रन तथा रबि बोपराले २३७ रन बनाउन सफल भएका छन् ।

सर्वाधिक विकेट

हालसम्मका खेलमा सर्वाधिक विकेट लिन सफल खेलाडीहरुमा विराटनगर किङ्गसका कप्तान सन्दिप लामिछाने अग्रपङ्तिमा छन् । उनले हालसम्म कूल १५ विकेट लिएका छन् । सुदूरपश्चिम विरुद्धको खेलमा उनले लगातार ३ विकेट लिई ह्याट्रिक गरेका थिए । यस्तै सुदूरपश्चिम रोयल्सका अविनाश बोहराले १४ विकेट तथा काठमाडौँ गोर्खाजका साहब आलमले १२ विकेट लिएका छन् । उनले पोखरा बिरुध्दको एकै खेलमा ह्याट्रिकसहित ६ विकेट लिन सफल भएका थिए ।

विदेशी खेलाडीको सक्रियता

एनपिएल क्रिकेटमा गत संस्करणमा जस्तै यसपालि पनि सहभागी प्रत्येक टिमले चार विदेशी खेलाडीलाई आफ्नो टिमका तर्फबाट खेलाएका छन् । तर ती खेलाडीमध्ये कोही पूरै खेल अवधिभर नै खेल्दैछन् भने कतिपय खेलाडी केही म्याच खेलेर काठमाडौँबाट फर्किसकेका छन् । अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताकालागि पनि अनुबन्ध भएको कारणले उनीहरु फर्कनु परेको हो तर केही विदेशी खेलाडी प्रतियोगिता जारी भएको अवस्था पनि आएका थिए ।

नेपाली क्रिकेट प्रेमीहरुले अन्तराष्ट्रिय रुपमै ख्यातीप्राप्त गरिसकेका विभिन्न विदेशी खेलाडीको उत्कृष्ठ ब्याटिङ, बलिङ, फिल्डिङ हेर्ने अवसर पाएका छन् । प्रत्येक खेलमा कुनै पनि टिमलाई विजयी बनाउन विदेशी खेलाडीहरुको पनि महत्वपूर्ण भूमिका रहेको पाइएको छ । हरेक म्याचमा प्रदान गर्ने गरिएको उत्कृष्ठ खेलाडी पुरस्कार नेपालीका साथै विदेशीले समेत पाएका छन् । विदेशी खेलाडीले यसपटक पहिलोचोटी नेपाली टिमको कप्तानको जिम्मेवारी समेत पाएका छन् । गत संस्करणको विजेता जनकपुर बोल्डस लगातार पराजय हुँदै गएपछि साबिकका कप्तान अनिल शाहलाई परिवर्तन गरी पहिलोपटक विदेशी खेलाडी वायन पार्नेललाई जिम्मेवारी दिइएको थियो । जनकपुरले लुम्बिनीसँगको खेलमा पुनः कप्तान परिवर्तन गरी अर्का विदेशी खेलाडी जान निकोल लफ्टी इटनलाई कप्तान बनाएको थियो ।

नेपाली खेलाडीहरुले ख्याती प्राप्त अन्तराष्ट्रिय खेलाडीहरुसँग एकै टिममा रहेर खेल्दै ब्यक्तिगत रुपमा परिचित हुने अवसर पाउनुका साथै खेल कौशल सिक्ने मौका पाएका छन् । विदेशी खेलाडीहरुले नेपालमा सबैभन्दा रुचाएको सन्दर्भ भने नेपाली प्राकृतिक सुन्दरता तथा नेपाली दर्शकहरुको क्रिकेट प्रतिको अत्यधिक अभिरुचि हो । संसारका विभिन्न रङ्गशालामा क्रिकेट खेलिसकेका अन्तराष्ट्रिय खेलाडीहरुले नेपाली दर्शकहरुका साथै नेपालको प्राकृतिक सुन्दरताको खुलेर प्रशंशा गरेका छन् ।

आमाप्रति सम्मान

एनपिएल क्रिकेट खेलाडीहरुको आमाप्रति सम्मान जनाउने महत्वपूर्ण माध्यम पनि बन्न पुग्यो । कतिपय नेपाली खेलाडीका आमा आफ्नो छोराको म्याच हेर्न रङ्गशालामा उपस्थित हुनुभएको थियो । जनकपुर बोल्डस टिमका खेलाडी ललित राजवंशीकी आमा शुभकुमारी देवीको गत साउनमा निधन भएको थियो । खेलाडी राजवंशीले मङ्सिर ११ गतेको खेलमा दिवंगत आमाको नाम अङ्कित जर्सी लगाएर मैदानमा उत्री आमाप्रति सम्मान ब्यक्त गरेका थिए । सोही टिमका अन्य खेलाडीले पनि आआफ्ना आमाको नाम अङ्कित जर्सी लगाएर खेलेका थिए । पोखरा रेन्जर्सले भने हरियो रङको बैकल्पिक जर्सी लगाएर वातावरणप्रति चेतना जगाउने कार्य गरेको थियो । जनकपुर टिमका खेलाडीहरुले लगाएका बैकल्पिक जर्सी लिलाम बिक्री गरेर जेन्जी आन्दोलनका क्रममा सन्तान गुमाएका आमाहरुलाई सहयोग गरिने लक्ष्य राखिएको छ । यस्तै पोखरा टिमको जर्सी बिक्रीबाट उठेको रकम वातावरण संरक्षणमा क्रियाशील सङ्घसंस्थालाई प्रदान गरिने भएको छ ।

रेफ्री पनि नेपाली

एनपिएल क्रिकेटको खेल सञ्चालनकाक्रममा हालसम्म खासै ठूलो विवाद भएको पाइएको छैन । नेपाली तथा विदेशी खेलाडीहरुले एउटै टिममा आबद्ध भएर खेलमा प्रतिस्पर्धा गरिरहेको जस्तै खेल सञ्चालनका लागि अम्पायर तथा म्याच अफिसियल जस्तो निर्णायकको भूमिकामा पनि नेपाली तथा विदेशीहरुको एकसाथ संलग्नता रहेको छ । खेल सञ्चालनमा केही विदेशीका साथै नेपाली अम्पायर पनि क्रियाशील रहेका छन् । बुद्धिबहादुर प्रधान, दुर्गानाथ सुवेदी, विनयकुमार झालगायतका नेपाली अम्पायरले फिल्ड अम्पायर, थर्ड अम्पायर, टिभी अम्पायर जस्तो भूमिका निर्बाह गरिरहेका छन् ।

मिलेमतोप्रति सतर्कता

जारी क्रिकेटमा मिलोमतोबाट नतिजा निकाल्ने कार्य हुन नपाओस् भन्दै नेपाल क्रिकेट सङ्घ क्यानले विशेष सर्तकता अपनाएको छ । एनपिएल क्रिकेट सञ्चालन भइरहेको बेला अनलाइन बेटिङमा संलग्न भएको आरोपमा केही ब्यक्तिलाई पक्राउ गरिएको थियो । यसमा भारतीय नागरिकको सङ्ख्या बढी रहेको छ । कीर्तिपुर रङ्गशालामा खेल सञ्चालन भइरहेको अवस्थामा समेत अनलाइन बेटिङको आरोपमा दर्शक दिर्घाबाटै मानिसहरु पक्राउ पर्नु गम्भीर विषय भएको मानिएको छ । प्रतियोगिता अवधिभरका लागि सुरक्षा कायम गर्न नेपाल प्रहरीले करिब १२ सय सुरक्षाकर्मी खटाएको छ । प्रहरीले एनपिएलकै लागि छुट्टै कन्ट्रोल कक्ष निर्माण गरी ४० वटा सिसिटिभीमार्फत प्रत्यक्ष रुपमा निगरानी गरिरहेको छ । रातिको समयमा खेल सञ्चालन हुँदा रङ्गशालामा जडान गरिएको फ्लडलाइटको प्रकाशले पनि सुरक्षाका लागि सहज भएको तथा ड्रोनमार्फत पनि रङ्गशालाको निगरानी गर्ने गरिएको प्रहरी अधिकारीले जनाएका छन् । यसैगरी प्रतियोगिताका सहभागी खेलाडी तथा अफिसियलहरुको निगरानी सुरक्षाका लागि छुट्टै सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

एनपिएल क्रिकेटका हालसम्म भएका खेलकाक्रममा भएका त्रुटीहरुलाई सुधार गर्नेतर्फ क्यानको ध्यान जानु जरुरी देखिएको छ । क्रिकेट म्याच हुन आतुर हुँदै कीर्तिपुर पुग्ने दर्शकहरुको भिड अत्यधिक देखिएकाले उनिहरुको उचित व्यवस्थापन गर्नु अत्यावश्यक मानिएको छ । कतिपय खेलमा हेर्न गएका दर्शकहरुलाई टिकट बिक्री भइसकेको जानकारी दिइएता पनि प्याराफिटमा सिट खाली देखिनु तालमेल देखिदैंन । टिकटको कालो बजारी हुने गरेको गुनासो पनि दर्शकहरुले गर्ने गरेका छन् । यस्तै खेलका क्रममा बेलाबेलामा फ्लडलाइटमा आएका समस्यालाई तत्काल समाधान गर्नु पर्ने देखिएको छ । रङ्गशाला वरिपरि तत्काल सरसफाई गरी वातावरण स्वच्छ राख्न सम्बन्धित अधिकारीले ध्यान दिनुपर्छ ।

एनपिएल क्रिकेटको पहिलो संस्करणको सफलतापछि उत्साहित हुँदै नेपाल सरकारले क्रिकेटलाई उचित प्राथमिकता दिएर भौतिक पूर्वाधारतर्फ जुन लगानी गरेको छ, त्यसले दोस्रो संस्करण अझ स्तरीय हुन पुगेको छ । नेपालको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिताका लागि निजी क्षेत्रले दिएको प्राथमिकता पनि प्रशंसनीय रहेको छ । यसको निरन्तरताको लागि लचिलो नीति ल्याएर निजी क्षेत्रको प्रतिबद्धतालाई अन्य खेलहरुमा समेत विस्तार गर्न सरकारको ध्यान जानु जरुरी देखिएको छ ।

चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम

बेइजिङ ।  चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ ।

चिनियाँ भन्सार प्रशासनका अनुसार यो वृद्धि दर वर्षको पहिलो १० महिनामा देखिएको ३.६ प्रतिशतको दरसँग स्थिर रहेको छ । यसले चीनको व्यापार वृद्धिमा स्थिरता आएको सङ्केत गर्दछ ।

विशेषगरी नोभेम्बर महिनामा मात्र चीनको आयात र निर्यात ३.९ खर्ब युआनमा पुगेको छ, जुन वर्षभरको तुलनामा ४.१ प्रतिशतले बढेको हो । यसमा निर्यातको योगदान ठूलो रहेको जनाइएको छ ।

विश्लेषकहरूले चीनको विदेशी व्यापारमा यो स्थिर वृद्धि विश्व अर्थतन्त्रमा चीनको योगदान र निर्यात–आयात दुवै क्षेत्रको सन्तुलनको सङ्केत भएको बताएका छन् । चीनले मुख्य रूपमा इलेक्ट्रोनिक सामान, मेशिनरी र औद्योगिक वस्तुको निर्यातमा वृद्धि गरेको छ भने कच्चा पदार्थ र ऊर्जा स्रोतको आयातमा पनि हल्का वृद्धि देखिएको छ ।

चिनियाँ अधिकारीहरूले भनेका छन् कि आगामी वर्षमा विदेशी व्यापार वृद्धिलाई थप प्रोत्साहित गर्न नयाँ आर्थिक नीतिहरू लागू गरिनेछन्, जसमा उत्पादन, निर्यात, लगानी र व्यापार सहकार्यलाई प्राथमिकता दिइनेछ ।

यो तथ्याङ्क चीनको वैश्विक व्यापारिक स्थिति र अन्तर्राष्ट्रिय बजारमा यसको स्थायित्व बुझ्न महत्वपूर्ण मानिन्छ ।

नेकपाले पुस ५ गते काठमाडौँमा एकता सन्देश सभा गर्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी पुस ५ गते काठमाडौँमा सन्देश सभा गर्ने भएको छ । भृकुटीमण्डपमा बागमती प्रदेश, सम्पर्क समन्वय र विशेष प्रदेशको आयोजनामा ‘एकता सन्देश सभा’ गर्ने निर्णय नेकपाले गरेको हो । आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले यस्तो निर्णय गरेको हो ।

सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । नेपाली कम्युनिष्ट पार्टीले अहिलेसम्म मधेस, गण्डकी, कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा त्यस्ता सभा गरिसकेको छ । अब बागमतीको हेटौँडामा मंसिर २३ गते एकता सभा हुने सो पार्टीले जनाएको छ ।

श्रम संस्कृति पार्टीको काठमाडौं, भक्तपुर र ललितपुरमा र्‍याली (तस्बिरहरू)

काठमाडौं।श्रम संस्कृति पार्टीको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला संगठन विस्तार र अध्यक्ष हर्क साम्पाङको सम्बोधनका लागि र्‍याली सुरु भएको छ ।

बागबजारस्थित हार्दिक होटलबाट सुरु भएको र्‍याली सिफल चौरमा पुगेर सभामा परिणत हुने कार्यक्रम छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछ : अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सुशासन कमजोर भए भ्रष्टाचार मौलाउने बताएका छन् । सोमवार १७ औं राष्ट्रिय मानव अधिकार महाभेला, २०८२ एवं ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भ्रष्टाचार हटाउनका लागि, कम गर्नको लागि अभियान चाल्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम हुनुपर्ने बताए । उनले जेन–जी मुभमेण्टले नेपालमा नयाँ आयाम थपेको बताए । भ्रष्टाचार मौलाए बेथिति बढ्ने र बेथिति भए मानव अधिकार ओझेलमा पर्ने बताए ।

उनले भने, ‘जेनजी मुभमेण्टको कुराहरु पनि छ । यसमा पनि हो । जेनजी मुभमेण्टले एउटा नयाँ आयाम थपेको छ । एउटा शिक्षा यहाँबाट लिनुपर्छ । सुशासन कायम गर्नुपर्छ । भ्रष्टाचार निर्मूल गर्नुपर्छ । भ्रष्टाचार निर्मूल हुनसक्छ, सक्दैन ? त्यो आफ्नो ठाउँमा होला । भ्रष्टाचार हटाउनका लागि, कम गर्नको लागि अभियान चाल्नु पर्छ । सुशासन कायम गर्नुपर्छ । सुशासन नभएसम्म, सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछ । भ्रष्टाचार मौलाए बेथिति हुन्छ । बेथिति भए मानव अधिकार ओझेलमा पर्दछ । सुशासन कायम गर्न सक्नुपर्छ ।’ अध्यक्ष मगरले संविधानबाट छुवाछुत मुक्त भइसके पनि समुदाय र व्यवहारमा अझै हुन नसकेको बताए ।

संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकता : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र कमजोर हुँदा मानवअधिकारको सुनिश्चिततामा गम्भीर समस्या उत्पन्न हुने भन्दै सबै पक्षलाई सचेत रहन आग्रह गरेका छन् । सोमवार ललितपुरमा आयोजित १७ औं मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले लोकतन्त्र र मानवअधिकार एक–अर्काका परिपूरक भएको उल्लेख गर्दै लोकतन्त्र सुदृढ भए मात्रै मानवअधिकारको प्रभावकारी कार्यान्वयन सम्भव हुने बताए । उनले वर्तमान परिवर्तित सन्दर्भमा लोकतन्त्रलाई संस्थागत गर्न सरकार प्रतिवद्ध रहेको भन्दै प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै सरोकारवालाले आ–आफ्नो स्थानबाट भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले नेपाल मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेखित विषय कार्यान्वयनप्रति प्रतिवद्ध रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायसँग गरेका प्रतिवद्धता पूरा गर्नेगरी मानव अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

संक्रमणकालीन न्याय प्रक्रिया (टीआरसी) लाई निष्कर्षमा पुर्‍याई सबै नागरिकको मानवअधिकार सुनिश्चित गर्नु आजको प्रमुख आवश्यकता भएको उनको भनाइ छ । उनले भने, ‘लोकतन्त्र र मानवअधिकार एकअर्काका परिपुरक हुन् । लोकतन्त्रको सुदृढिकरणमा मानव अधिकारको र मानव अधिकार प्राप्तिमा लोकतन्त्रको महत्वपूर्ण भूमिका हुने कुरा जगजाहेर नै छ । वर्तमान परिपेक्षमा लोकतन्त्र कमजोर भई मानव अधिकार प्राप्तिमा केही समस्या हुन नदिन हामी सचेत छौँ । नेपालमा लोकतन्त्रलाई संस्थागत गर्न हामी लागिपरेका छौं ।’

उनले भने, ‘यसका लागि आगामी प्रतिनिधि सभाको निर्वाचन स्वच्छ तथा भयरहित वातावरणमा सम्पन्न गराउन सबैलाई आआफ्नो स्थानबाट भूमिका निर्वाह गरिदिन पनि अनुरोध गर्दछु । नेपाल मानव अधिकार विश्वव्यापी घोषणापत्रमा उल्लेखित विषयहरु कार्यान्वयनको लागि प्रतिबद्ध भएको हुँदा नेपालले अन्तर्राष्ट्रिय समुदायमा गरेको प्रतबद्धताको कार्यान्वयनसँगै संक्रमणकालीन न्याय प्रक्रिया (टिआरसी) लाई टुङ्गोमा पुर्‍याइ सबैको मानव अधिकारलाई सुनिश्चित गरी अगाडि बढ्नु आजको आवश्यकता हो ।’

गृहमन्त्री अर्यालले भने, ‘मानव अधिकार कुनै पनि सभ्य, समावेशी र लोकतान्त्रिक समाजको मेरुदण्ड हो । नागरिकको स्वतन्त्रता, समानता र सुरक्षित जीवन सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व हो । तर यो कार्य राज्यले मात्र पूरा गर्न सक्दैन । यसमा समाजका हरेक तह, नागरिक समाज, मानव अधिकारकर्मी तथा आम नागरिकको साझा प्रयास आयवश्यक पर्छ ।’ गृहमन्त्री अर्यालले मानवअधिकार कुनै पनि सभ्य, समावेशी र लोकतान्त्रिक समाजको मेरुदण्ड भएको बताउँदै नागरिकको स्वतन्त्रता, समानता र सुरक्षित जीवन सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व भएको पनि बताए ।

एउटा व्यक्ति दुई पटक भन्दा बढी अध्यक्ष हुन नपाउने कानुन ल्याउनु पर्छ : उपाध्यक्ष पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एउटा व्यक्ति दुई पटक भन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था कानुनमै लेख्नुपर्ने बताएका छन् । आज बागबजारमा ११ औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले पुराना र नयाँ दल दुवैमा दुई पटकभन्दा बढी अध्यक्ष हुन चाहने अवस्था रहेको भन्दै कानुनमै नपाउने व्यवस्था हुनुपर्ने बताएका हुन् ।

‘यो लोकतान्त्रिक इतिहास बोकेको पार्टीलाई व्यक्तिवादी, केही व्यक्तिको निर्णयबाट चल्ने स्थितिको विकसित हुँदै गएको छ,’ पाण्डेले भने, ‘जसले गर्दा नेकपा एमाले जनताको बीचमा साँघुरिने, खुम्चिने, आइशोलेसनमा जाने अवस्था देखा पर्दैछ ।’ नवपुस्ताले पनि चुनाव नहुने, प्रतिस्पर्धा गर्न पाइने र माथिबाटै लिस्ट पेश हुने पार्टीमा किन लाग्ने भनेर आउने सम्भावना नरहेको उनले बताए ।

उनले एमालेको महाधिवेशनमा दलभित्रको लोकतान्त्रको विषयमा बहस गर्ने बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेको जबज र आफूले भनेको जबज फरक रहेको धारणा राखे । पाण्डेले जबजको प्रष्ट बुझाउन आफूहरु सक्रिय रहेको बताए । उनले नयाँ पुस्ताको बीचमा पार्टी जानुपर्नेमा सीमित नेताको हातबाट पार्टी सञ्चालन भइरहेको आरोप लगाए । ११ औं राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा एमालेका नेताहरूमा ध्रुवीकरण बढेको छ । कार्यक्रममा एमाले अध्यक्ष ओलीलाई टक्कर दिन संस्थापनइतर पक्षका उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराईसहितका पदाधिकारीहरू सहभागी थिए ।

 

ओलीले विदा लिँदा सम्मान पनि बढ्छ : कर्ण थापा

काठमाडौं । नेकपा एमालेका नेता कर्ण थापाले अध्यक्ष केपी शर्मा ओलीको शैली र नेतृत्वप्रति तीव्र असन्तुष्टि जनाएका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित कार्यक्रममा उनले पार्टीभित्र बहस र संवादको संस्कृति कमजोर भएको भन्दै अब एमाले जसरी चल्दै आएको छ, त्यसरी चल्न नसक्ने दावी गरे ।

‘केन्द्रीय कमिटीका बैठक भनेको उहाँ उभिने, भाषण गर्ने,’ थापाले भने, ‘भाषण जति मन लाग्छ त्यति गर्ने । जे मन लाग्छ त्यो कुरा भन्ने । उहाँले भनेको कुरा मार्क्सवाद । उहाँले भनेको कुरा जबज । उहाँले भनेको कुरा निर्णय । जो, बहुदलीय जनवादसँग कही पनि मेल खाँदैन । द्वन्द्ववादसँग पनि मेल खाँदैन । माक्र्सवादसँग पनि मेल खाँदैन ।’

थापाले पार्टीभित्र यस्ता अभ्यासविरुद्ध धेरै नेता मौन बसेको बताउँदै अब परिवर्तन आवश्यक रहेको बताएका छन् । ‘हामी बहस गर्न चाहन्छौं । तर्क–वितर्क गर्न चाहन्छौं । देशका जटिल विषयमा खुला छलफल गर्न चाहन्छौं,’ उनले भने । उनले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने र सामूहिक नेतृत्व प्रणालीमा जाने भन्दै ओलीले विदा लिनुपर्ने बताएका छन् । ‘हामीले नेपालको कम्युनिष्ट आन्दोलनको भविष्यलाई अगाडि बढाउनु पर्नेछ, सामुहिक नेतृत्व प्रणालीमा जाने र मूल्यांकनको सही परिपाटी स्थापित गर्ने,’ थापाले थपे, ‘यी कुरा बुझेर उहाँले विदा लिनुपर्छ । उहाँ विदा हुनुभयो भने उहाँको सम्मान पनि बढ्ने छ ।’

बुहारीले विष मिसाएर खाना दिंदा सासुको मृत्यु, ससुराको अवस्था गम्भीर

विराटनगर । बुहारीले खानामा विष मिसाएर दिंदा मोरङ बेलबारी–२ मा सासुको ज्यान गएको छ भने ससुरा गम्भीर बिरामी परेका छन् । बुहारीले खानामा हालेर विष खुवाउँदा ७७ वर्षीया इन्द्रमाया राईको मृत्यु भएको छ भने उनका पति ७० वर्षीय भक्तबहादुर राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बुहारीले वृद्ध सासु–ससुरालाई विष मिसाएर खाना खुवाएको घटनाले सिंगो गाउँमा त्रास फैलिएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो सिंहदेवी टोलमा अत्यन्तै अस्वाभाविक दृश्य देखिएको हो । स्थानीयले घर नजिकैको खोल्सामा भक्तबहादुरलाई अचेत अवस्थामा लडिरहेको देखे । उनलाई तत्काल उद्धार गरी घर पुर्‍याए । घरभित्र उनकी पत्नी इन्द्रमाया राई समेत बेहोस अवस्थामा ढलिरहेको भेटिइन् । वरपर हेर्दा घरको खोरमा रहेका तीनवटा कुखुरा समेत मरिरहेको भेटिए । एउटै घरका मानिस एवं पशुपंक्षी एकैसाथ अचेत र मरेको अवस्था भेटिएको घटनामा गम्भीर आशंका जन्मियो ।

घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीको टोली तत्काल घटनास्थलमा पुग्यो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार अचेत अवस्थामा भेटिएका दम्पतीलाई तत्काल विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको थियो । अस्पतालको आईसीयूमा राखेर उपचार थालिए पनि इन्द्रमाया राईको अवस्था सुधार हुन सकेन । उपचारकै क्रममा राति १०ः४० बजेतिर उनको मृत्यु भयो । शवलाई पोस्टमार्टमका लागि विराटनगरकै कोशी अस्पतालमा राखिएको छ । प्रहरीका अनुसार भक्तबहादुरको अवस्था अत्यन्तै गम्भीर छ ।

डीएसपी चौधरीका अनुसार वृद्ध दम्पती अचेत हुनु, कुखुरा मर्नु र घरभित्रको अवस्थाले खानामा विषादी मिसाइएको प्रबल संकेत दिएको थियो । थप अनुसन्धानका क्रममा घरमै बस्दै आएकी भतिजी बुहारी ३२ वर्षीया सुनीता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । उनी हाल इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा छन् । सुनीताविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।

प्रहरीले घटनास्थलबाट विषादीको एउटा बट्टा समेत फेला पारेको छ । तर, त्यो बट्टा अँगेनोमा जलाइएको अवस्थामा भेटिएकाले कुन प्रकारको विष प्रयोग भएको थियो भन्ने कुरा तत्काल यकिन हुन नसकेको डीएसपी चौधरीले बताए । थप अनुसन्धान र विशेष परीक्षणपछि मात्रै वास्तविक विषको प्रकार पुष्टि हुने प्रहरीको भनाइ छ । घटनाको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।

प्रारम्भिक बयान र प्रमाणको आधारमा सुनीताले वृद्ध सासु–ससुरालाई विष मिसाएर खाना खुवाएको निष्कर्षमा प्रहरी पुगेको हो । प्रहरीका अनुसार दम्पतीले आफूहरुले खाएपछि बाँकी रहेको खाना कुखुरालाई खुवाएका थिए। त्यही खाना खाएका कारण कुखुरा समेत मरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भक्तबहादुर र इन्द्रमायाका सन्तान थिएनन् । उनीहरू आफ्ना भतिजा प्रशान राई र उनकी पत्नी सुनीता कार्कीलाई आश्रय दिएर सँगै बस्दै आएका थिए । घटना भएको समयमा प्रशान घर बाहिर रहेका थिए । घरभित्र वृद्ध अवस्थाका सासु–ससुरासँग सुनीता मात्रै रहेको र खानामा विष हालेर दिएको पाइएको प्रहरीले जनाएको छ । खाना विष मिसाउनुको कारण पत्ता लाग्न नसकेको र अनुसन्धान भइरहेको डीएसपी चौधरीले बताए ।

सम्पत्तिको लोभ, पारिवारिक कलह वा अन्य कुनै विवादका कारण बुहारीले यस्तो कृत्य गरिन् भन्ने बारेमा विस्तृत अनुसन्धानपछि पत्ता लाग्ने उनको भनाइ छ । उनका अनुसार पोस्टमार्टम रिपोर्ट, फरेन्सिक परीक्षण र विषादीसम्बन्धी प्रयोगशाला परीक्षणलगायतका प्रक्रिया पूरा गरेर अनुसन्धान सकिएपछि घटनाको वास्तविक कारण सार्वजनिक गर्न सकिनेछ ।

 

 

एनसेलमा ठूलो क्षति भएको छ, सरकारले हुनसक्ने सहयोग गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नक्खुस्थित एनसेल कार्यालय अवलोकन गरेका छन् । मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गर्दै जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी गराएका थिए। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा एनसेलको लैनचौरस्थित केन्द्रीय कार्यालयमा तोडफोड, लुटपाट र आगजनीका कारण क्षतिग्रस्त भएपछि एनसेलले नक्खुस्थित कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ । एनसेलका अनुसार जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न स्थानमा भएको तोडफोड र आगजनीका कारण करिब रु ६५ करोड बराबरको क्षति भएको थियो ।

अवलोकनपछि मन्त्री खरेलले आफूले एनसेलमा भएको क्षतिबारे जानकारी लिन आएको बताएका थिए । उनले एनसेलले जेनजीलाई लक्षित गरी ‘प्याक’ ल्याउन लागेको सुन्दा खुसी लागेको पनि उल्लेख गरे । ‘मैले उहाँहरुलाई विद्यार्थी र जेनजीका लागि केही गर्नुहोस् भनेको थिए, उहाँहरुले नयाँ प्याकेज ल्याउँछौँ भन्नु भएको छ, त्यसबाहेक सगरमाथा आधार शिविर र केही दुर्गम स्थानमा टेलिकमको पहुँच बढाउने विषयमा उहाँहरुले आफ्नो योजना सुनाउनु भएको छ’, मन्त्री खरेलले भने । उनले एनसेलमा ठूलो क्षति भएको उल्लेख गर्दै सरकारबाट हुनसक्ने सहयोगका लागि तयार रहेको समेत बताएका थिए ।

एनसेलका अनुसार कम्पनीले जेनजीलाई लक्षित गरी प्याक सार्वजनिक गर्ने र मुलुकभरका १०० जना विद्यार्थीलाई एक करोड राशिको जेनजी छात्रवृत्ति पनि घोषणाको तयारी गरेको छ । एनसेलका तर्फबाट मन्त्री खरेललाई सगरमाथमा क्षेत्रको गोखरसेपसम्म थप पाँचवटा टावर थप गरी ‘फोरजी’ सेवा विस्तार गर्न लागेको जानकारी गराइएको थियो ।

मन्त्री खरेलले पछिल्लो समय एनसेलसँग देखिएका केही समस्या समाधानका लागि पनि सरकार प्रयासरत रहेको बताएका थिए । ‘केही नीतिगत समस्या छन्, केही विवादहरु पनि देखिएका छन्, यद्यपि यी सबै कानुनसम्मत समाधान हुनुपर्छ भन्नेमा सरकार विश्वस्त छ’, उनले भने । एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले नेपालको टेलिकम क्षेत्रको सेवा अन्तर्राष्ट्रियस्तरको नभएको उल्लेख गर्दै सरकारले नीतिगत रुपमा सहजीकरण गर्नुपर्ने धारणा राखे । ‘टेलिकम्युनिकेसन सेवा पछिल्लो समय मानिसका लागि अत्यावश्यक भइसकेको छ, त्यसैले सरकारले पनि यस विषयमा ध्यान दिनु आवश्यक छ’, उनले भने ।

कसरी मिल्यो एमाले धनकुटा र ओखलढुङ्गाको महाधिवेशन प्रतिनिधि छनौंट विवाद ?

विराटनगर । नेकपा एमालेको धनकुटा र ओखलढुङ्गामा देखिएको महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी विवाद अन्ततः नेतृत्वको सक्रियतामा समाधान भएको छ । दुवै जिल्लामा एकपक्षीय प्रक्रिया, असन्तुष्टि र बहिष्कारका कारण उत्पन्न विवादलाई संगठन विभाग र प्रदेश नेतृत्वले समन्वय गरी सहमतिमै प्रतिनिधि छनोट गरेको घोषणा गरिएको हो ।

धनकुटामा केही बुथमा तोडफोड र मतपत्र च्याताच्यात समेत भएपछि विवाद चुलिएको थियो । राजेन्द्र राई र इन्द्रमणि पराजुली समूहबीच प्रतिष्पर्धा देखिए पनि संगठन विभागको निर्देशनपछि कोशी प्रदेश इन्चार्ज शेरधन राई र केन्दीय सदस्य राजेन्द्र राईको सहमतिमूलक पहल सफल बनेको हो । सोही अनुसार धनकुटाबाट खुल्लातर्फ निरेन तामाङ, मनोज राई, शिव आङ्ला, निरन राई, चिन्तन तामाङ, परशु नेपाल र खगेन्द्र राई सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् ।

त्यसैगरी युवा, दलित र महिला तर्फबाट क्रमशः सरोज राई, नैन रुचाल, तुलसी राई, सम्झना आले मगर, निर्मला इभाङ लिम्बू र गोमा कार्की चयन भएका छन् । साथै जिल्लाका दुई वरिष्ठ नेतालाई मनोनीत गर्ने सहमति पनि भएको छ । यसअघि प्रतिनिधि बनेका शान्तिराम गौतम र अर्जुन छाराहाङको स्थानमा यसपटक निरेन तामाङ र मनोज राई समावेश गरिएका छन् ।

यस्तै ओखलढुङ्गामा पनि एकपक्षीय घोषणा र पदाधिकारीबीचको मतभेदका कारण विवाद उत्पन्न भएपछि संगठन विभागले प्रक्रिया बदर गरी पाँच दिनभित्र सहमतिबाट वा पालिकास्तरमा चुनावमार्फत प्रतिनिधि चयन गर्न कार्यदल तोकेको थियो । कोशी प्रदेश इन्चार्ज शेरधन राई, संगठन विभाग सदस्य विशाल भट्टराई, जिल्ला इन्चार्ज यज्ञराज सुनुवार र किशोर अधिकारी सम्मिलित कार्यदलको निरन्तर छलफलपछि प्रतिनिधि छनोट सर्वसम्मत बनेको छ ।

बहिष्कार गरेको पक्षलाई चार प्रतिनिधि समावेश गर्दै कुल १२ जनाको सूची अन्तिम गरिएको छ । सहमतिअनुसार पूर्व जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठ, जिल्ला उपसचिव तथा लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा, संविधानसभा सदस्य हर्कबोल राई र सकुन्तला राजभण्डारी प्रतिनिधिमा परेका छन् । साथै जीबी खड्का, अम्बिरबाबु गुरुङ, कमल न्यौपाने, इच्छाकुमारी गुरुङ, राजीव कटुवाल, रमिला मगर श्रेष्ठ, टीका धमला र ज्यानु कालिकोटे यसअघि नै प्रस्तावित सूचीबाट कायम गरिएको छ । दुवै जिल्लामा उत्पन्न विवाद समाधान भएसँगै महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मत रूपमा टुंगिएको नेतृत्वले जनाएको छ ।

 

गोवा नाइट क्लवमा आगलागी : मृत्यु भएका २५ मध्ये चार जना नेपाली (नामावली)

काठमाडौं । भारतको गोवास्थिति एक नाइट क्ल्वमा गत शनिबार मध्यरात भएको आगलागीमा मारिने २५ जनामध्ये चार जना नेपाली भएको खुलेको छ । भारतीय अधिकारीका अनुसार मारिनेमध्ये २० जना नाइट क्लवकै कर्मचारी र पाँच जना पर्यटक हुन् । कर्मचारीमध्ये तीन जना नेपालका भएको अधिकारीहरुले बताएका छन् ।

भारतीय सञ्चारमाध्यमले मारिने २५ जनाको नाम सार्वजनिक गरेका छन् । उनीहरुमध्ये नेपालका चुर्णबहादुर पुन, विवेक कटवाल, सविन (थर नखुलेको) र सुदीप (थर नखुलेको) नेपालका हुन् । नेपालीहरुको पुरा ठेगाना खुलाइएको छैन । गोवाको बिर्च एन्ड रोमियो नाइट क्लवमा १०० जनाजति मानिसहरु डान्स गरिरहेका बेला अचानक आगलागी भएको थियो ।

गोवा आगलागीमा मृत्यु भएका व्यक्तिहरूको सूची
चुर्णबहादुर पुन — नेपाल
विवेक कटवाल — नेपाल
सबिन — नेपाल
सुदीप — नेपाल
मोहित— झारखण्ड
प्रदीप महतो— झारखण्ड
बिनोद महतो— झारखण्ड
सतीश सिंह — उत्तराखण्ड
सुरेन्द्र सिंह — उत्तराखण्ड
जितेन्द्र सिंह — उत्तराखण्ड
सुमित नेगी — उत्तराखण्ड
मनिश सिंह — उत्तराखण्ड
दिगम्बर पटिर — असम
राहुल तन्ती— असम
मनोजित माल — असम
सुनील कुमार — उत्तर प्रदेश
रोहन सिंह — उत्तर प्रदेश
डोमिनिक — महाराष्ट्र
मनोज जोरा — महाराष्ट्र
इसहाक — कर्नाटक
सुभास क्षेत्री— दार्जिलिङ, पश्चिम बंगाल
सरोज जोशी — दिल्ली
विनोद कुमार — दिल्ली
अनिता जोशी — दिल्ली
कमला जोशी — दिल्ली

साढे ६ लाखको ‘सुपारी’ दिएर सफारी चालकको हत्या

सुनसरी । सुनसरीको रामधुनी नगरपालिकामा सिटी सफारी चालकको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । दशैंलगत्तै सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या गरिएको थियो । हत्यामा संलग्न रहेको आरोपमा सुटरसहित सात जनालाई पक्राउ गरिएको सुनसरी प्रहरीले जानकारी दिएको छ । हत्याका मुख्य योजनाकार समेत पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा राजेश साह, नन्दकिशोर साह , मोहम्मद इव्राइम मिया, अंकित साह, प्रिन्सकुमार दास, गियास मन्सुरी र मिथलेश यादव रहेको सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिए । पुरानो रिसिवीका कारण चौधरीको हत्या भएको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकामध्ये राजेश साहले आफूलाई चौधरीले तन्त्रमन्त्र गरेर बिरामी पारेको भन्दै हत्याको योजना बनाएको प्रहरीलाई बताएका छन् । चौधरीको हत्या गर्न राजेशले ६ लाख ५० हजार रूपैयाँ सुपारी दिएर सुटर मोहम्मदलाई प्रयोग गरेका थिए । उनले ३ लाख रूपैयाँ समेत पेश्की लगेको पाइएको छ ।

 

रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास फैलाएको बताएका छन् । सोमवार निर्माण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले ठेक्का व्यवस्थापन गर्ने नाममा निर्माण उद्योगीहरुलाई राज्यले प्रताडित गर्न नहुने बताएका छन् । उनकाअनुसार एकतर्फी रुपमा आम जनतालाई निर्माण उद्योगको मात्रै त्रुटी देखाएर जनतासमक्ष उद्योगीको मानमर्दन गर्ने काम सरकारले बन्द गर्नुपर्छ । रुग्ण ठेक्काको व्यवस्थापन सही रुपमा हुनुपर्ने बताउँदै उनले सार्वजनिक ऐनको दफा, ६९ को ३ र ८ यथाशिघ्र खारेज गरेर निर्माण उद्योगलाई चलायमान बनाउनु पर्ने समेत बताए ।

अध्यक्ष सिंहले भने, ‘निर्माण क्षेत्र अहिले आक्रान्त बनेको छ । म प्रधानमन्त्री, विकास निर्माणको जिम्मा लिएका मन्त्रालयका मन्त्रीहरुलाई रुग्ण ठेक्काहरुको नाममा अहिले निर्माण उद्योगीहरुलाई अन्योलको वातावरणको सिर्जना भयो । ठेक्का व्यवस्थापन गर्ने नाममा निर्माण उद्योगीहरुलाई प्रताडित काम भएको छ । एकतर्फी रुपमा आम जनतालाइ पनि निर्माण उद्योगको मात्रै त्रुटी देखाएर जनतासमक्ष उद्योगीको मानमर्दन गर्ने काम भएको छ । यो गलत छ ।’

उनले भने, ‘एकदमै गम्भीर भएर रुग्ण ठेक्काको व्यवस्थापन हुनुपर्छ । सकेसम्म सम्पन्न हुने योजनालाई सम्पन्न गर्नका लागि वातावरण बनाइ दिनुपर्छ । सार्वजनिक ऐनको दफा ६९ को ३ र ८ यथाशिघ्र खारेज गरेर निर्माण उद्योगलाई चलायमान बनाउनु पर्छ । अहिले ठेक्का अन्त्य गर्ने नाममा त्रास फैलिएको छ, यसले बैंकङ क्षेत्रलाइ पनि अन्योल बनाएको छ । यो कुरामा सरकारलाई गम्भीर हुन आग्रह गर्दछु ।’

शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले पछिल्लो समय मन्दीले असर गरेको बताए । उनकाअनुसार हिजोका दिनमा गरिएका कानूनी त्रुटी, व्यवस्था र निर्माण व्यवसायमा टिकिराख्न गरिएका गैरकानूनी कामहरुले पनि यो अवस्था आएको हो । कानून र खरिदसम्बन्धि त्रुटीहरुलाई सुधारेर लैजानुपर्ने उनको भनाइ छ । सचिव गोपाल सिग्देलले भने, ‘हामी एकप्रकारको मन्दीबाट ग्रुजिरहेका छौं । सबै उद्योग आफै पनि शिथिल छ । अहिले उकुसमुकुसको स्थिति छ । सम्भवतः यो इतिहासकै शिथिल अवस्था हो । यो धेरै कारण छन् । हिजोका दिनमा गरिएका कानूनी त्रुटी, व्यवस्था र निर्माण व्यवसायमा टिकिराख्न गरिएका गैरकानूनी कामहरुले पनि यो अवस्था आएको हो ।’

उनले भने, ‘कानून र खरिदसम्बन्धि त्रुटीहरुलाई सुधारेर लैजानु पर्छ । पछिल्ला सरकारका गतिविधि हेर्दा रुग्ण ठेक्का सबै तोडेर मात्रै समाधान हुन्छ जस्तो मलाइ पनि लाग्दैन । हामीसँग कुनै बेला देशभरी ३१ सय रुग्ण ठेक्का थिए । ७ -८ सय सडक विभागकै ठेक्का थियो । अहिले त्यो स्थिति छैन । त्यो स्थिति होइन । शहरी विकास मन्त्रालयमा ४२ वटा ठेक्का भवन विभागको र १०÷१२ वटा झोलुङे पुलसम्बन्धि ठेक्का थियो । धेरैको ठेक्का तोड्नु परेको छैन् । काममा फर्किनु भएको छ ।’ उनले ठेक्का व्यवस्थापनका नाममा सबै रुग्ण ठेक्काहरु नतोडिएको समेत बताए । सिग्देलकाअनुसार कतिपय ठेक्काहरु चेतावनी पछि अघि बढाइएको छ । निर्माण व्यवसायी महासंघले १८ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा सोमवार बिहान प्रभातफेरी समेत आयोजना गरेको छ । साथै महासंघको कार्यालयमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ ।

संसद पुनर्स्थापनाको ‘रिट’ ले कांग्रेसमा ‘तरङ्ग’ : नेताहरू अनभिज्ञ, सांसदहरू सक्रिय

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित आठ जना निवर्तमान सांसद सर्वोच्च अदालत पुगेपछि कांग्रेसभित्र नयाँ राजनीतिक ‘तरङ्ग’ पैदा भएको छ । केन्द्रीय समितिको निर्णय अनुसार पार्टी आमचुनावमा जाने भनेर पहिले नै आधिकारिक निष्कर्ष निकालेको अवस्थामा प्रमुख सचेतक र सचेतककै नेतृत्वमा अदालत धाएको घटनाले पार्टी नेतृत्वदेखि भित्रभित्रका शक्ति–सम्बन्धसम्म पुनः चर्चा बढेको छ ।

घिमिरे र थिङले आफूहरू स्वतःस्फुर्त र सांसदको अधिकारबोधका आधारमा अदालत धाएको दाबी गरे पनि यसअघि मात्र सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्किएको, त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग महाराजगञ्जमा भेट भएको, त्यसपछि कांग्रेस पक्षका सांसद अदालत धाएको क्रमले धेरै प्रश्न उब्जाएका छन् । संसद विघटन असंवैधानिक भएको पार्टीको आधिकारिक धारणा भए पनि सर्वोच्चमा रिट लिएर जाने भनेर कुनै प्रत्यक्ष निर्देश पार्टी निर्णयमा थिएन ।

प्रमुख सचेतक घिमिरेका अनुसार रिट दायर गर्नुअघि नेतासँग व्यापक सरसल्लाह गरिएको थियो, तर को–को नेता भन्ने उनले खुलाएनन् । उनले संसद विघटनलाई असंवैधानिक भन्दै सांसदको पाँच वर्षे कार्यकाल बीचमै खोसिएको अधिकारका रक्षाका लागि अदालत धाएको बताएका छन् । थिङले पनि आफूहरू स्वतःस्फुर्त रूपमा अघि बढेको र यो एमालेले डोहोर्‍याएको बाटो भएको आरोप निराधार भएको दावी गरिन् । उनका अनुसार कांग्रेस नेतृत्व विदेशमै हुँदा पनि आफूहरूले ४५ हस्ताक्षर संकलन गरेर पुनस्र्थापनाको पक्षमा उभिन खोजेको, तर त्यसबेला कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रोकिदिएको प्रसङ्ग अझै ताजा छ ।

यता कांग्रेसभित्र अन्य शीर्ष नेताहरू भने रिटबारे अनभिज्ञ देखिएका छन् । सभापति देउवाका निकट मानिने नेता शेखर कोइरालाले यसबारे कुनै जानकारी नभएको बताउँदै रिट दर्ताको घटनाले आफू पनि आश्चर्यचकित भएको प्रतिक्रिया दिएका छन् । पार्टी महामन्त्री गगन थापाले भने केन्द्रीय समितिको आधिकारिक र अन्तिम निर्णय आमचुनावमा भाग लिने नै भएको भन्दै अदालत गएका सांसदहरूको कदमलाई ‘व्यक्तिगत निर्णय’ भएको बताएका छन् ।

पार्टीभित्रै दुई धार–चुनावमा जाने कि पुनर्स्थापनाको बाटो समाउने–पहिले नै देखिँदै आएको थियो । तर लामो छलफलपछि केन्द्रीय समितिले विघटन असंवैधानिक भने पनि अदालतलाई नै निरूपण गर्न छाड्ने तथा फागुन २१ को निर्वाचनमा जानेमात्र निर्णय गरेको थियो । यस्तो अवस्थामा रिट दायर गरिएको घटनाले कांग्रेसभित्र संस्थागत निर्णय र व्यक्तिगत राजनीतिक पहलबीचको दूरीलाई स्पष्ट देखाएको छ ।

एमाले सुरुमै अदालत पुगेको, त्यसपछि कांग्रेसभित्र हस्ताक्षर अभियान चलेको, देउवा–ओली भेटपछि फेरि कांग्रेसका सांसद सर्वोच्च धएको घटनाक्रमले राजनीतिक वृत्तमा नयाँ शक्ति गणित र सम्भावित पुनर्संयोजनबारे अड्कलबाजी हुन थालेको छ । तर रिट दायर गर्न पुगेका सांसदहरूको अडान भने एउटै छ–संसद विघटन असंवैधानिक भएको र आफ्नै जनमतप्रति जिम्मेवारीबोधका कारण अदालत धाएको । अब सर्वोच्चमा रिट दर्ता हुने क्रममा छ र बहुमत सांसद विघटनविरुद्ध उभिएको सन्देश सर्वोच्चसम्म पुगेको छ । तर पार्टी नेतृत्व र शीर्ष तहका निर्णय निर्माताहरू यसबारे आ–आफ्नै व्याख्या गरिरहेका छन् । घटनाक्रमलाई हेर्दा कांग्रेसभित्र सैद्धान्तिक मतभेद मात्र होइन, शक्ति–सम्पर्क र निर्णय प्रक्रियाको आन्तरिक असन्तुलन पनि सतहमा आएको देखिन्छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका थप तीन काण्डमा छुट्टै अनुसन्धान हुँदै

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित विवाद अझै बढ्दै गएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य मुद्दा बाहेक तीन छुट्टाछुट्टै अनियमितताका घटनामा पनि थप अनुसन्धान गर्ने निर्णय गरेको छ । फरक प्रकृति र समयका वारदात समेत समावेश भएकाले ती विषयमा अलग–अलग अनुसन्धान अधिकृत तोकिएको आयोगले जनाएको छ ।

आयोगले आइतबार ५५ जना व्यक्तिसहित एक कम्पनीलाई प्रतिवादी बनाउँदै ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको दाबीसहित मुद्दा दर्ता गरेको थियो । प्रारम्भिक मुद्दा लागत बढाइएको शीर्षकमा केन्द्रित भए पनि, आयोगका अनुसार कर छुट, डाँडा कटान र परामर्शदाता नियुक्ति सम्बन्धी अनियमितता स्वतन्त्र रूपमा छानबिन गर्न बाँकी छ । पहिलो विषय कर छुटसम्बन्धी हो। विमानस्थल निर्माणका लागि भएको मूल सम्झौतामा सबै कर तथा महसुलको दायित्व ठेकेदार कम्पनीको हुने उल्लेख थियो ।

तर विभिन्न सरकार र पदाधिकारीको निर्णयमार्फत चिनियाँ ठेकेदार कम्पनीलाई कर छुट दिइएको निष्कर्ष संसदको सार्वजनिक लेखा समितिले निकालेको थियो । लेखा समितिका अनुसार कर छुटको रकम मात्रै २ अर्ब २० करोड रुपैयाँ पुगेको छ, जसलाई ‘सरासर भ्रष्टाचार देखिने काम’ भनेर समितिले व्याख्या गरेको थियो । यही आधारमा अख्तियारले यस विषयमा थप अनुसन्धानको प्रक्रियालाई औपचारिक बनाएको हो ।

दोस्रो विवाद विमानस्थलअगाडि रहेको छिनेडाँडा÷रिट्ठेपानी डाँडा कटानसँग जोडिएको छ । रनवे उचाइ वास्तविक मापभन्दा कम बनाइएकाले डाँडा काट्नुपर्ने अवस्था सिर्जना भएको भन्दै लेखा समितिले प्रश्न उठाएको थियो । सम्झौता अनुसार डाँडा कटानसहित आवश्यक पूर्वाधार तयार पार्ने दायित्व ठेकेदारकै थियो तर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ३२ करोड २ लाख रुपैयाँ भुक्तानी गरी काम गराएको पाइएको छ । क्यानको उक्त भुक्तानीलाई समितिले ‘सिधै अनियमितता र भ्रष्टाचारजन्य कार्य’ भनेको छ । यही विषयमा पनि छुट्टै अनुसन्धान अघि बढाइने अख्तियारले स्पष्ट पारेको छ ।

तेस्रो मुद्दा परामर्शदाता नियुक्तिसँग सम्बन्धित छ । ठेक्का सम्झौताअनुसार चिनियाँ सीएएमसी इञ्जिनियरिङ कम्पनीले २८ लाख अमेरिकी डलरको परामर्शदाता स्वयं नियुक्त गर्नुपर्ने व्यवस्था थियो । तर प्राधिकरणले आफ्नै स्रोतबाट खर्च बेहोरेर अलगै परामर्शदाता नियुक्त गरेको तथ्य फेला परेको छ। खर्च ठेकेदारको दायित्व हुँदाहुँदै सरकारी बजेट प्रयोग गरिएको भन्दै लेखा समितिले यसलाई पनि अनियमितता भनेर टिप्पणी गरेको थियो । यो विषयमा पनि अख्तियारले छुट्टै अनुसन्धान सुरु गरेको छ ।

अख्तियारको अभिलेखमा उल्लेख भएअनुसार, यी तीन विषय मुख्य आरोप दाबीमा समेटिए पनि, ती फरक प्रकृतिका तथा फरक निर्णयकर्ताद्वारा विभिन्न समय र प्रक्रियामा भएका हुनाले पृथक रूपमा छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको हो । आयोगका अनुसार मुख्य मुद्दाको कारबाहीसँगै यी तीन छुट्टाछुट्टै फाइलमा पनि अनुसन्धान अगाडि बढाइनेछ ।

 

 

महाधिवेशन प्रतिनिधिहरुसँग ओली : अनावश्यक बहकाउमा नलाग्नुस्

काठमाडौं । नेकपा एमालेका महाधिवेशनका लागि रामेछापबाट छनोट भएका प्रतिनिधिले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि रामेछापबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिले आइतबार भक्तपुरको गुण्डुस्थित निवासमा पुगेर ओलीलाई भेटेका हुन् ।

भेटमा रामेछाप भूगोल भएका केन्द्र, प्रदेश तथा जिल्लाका प्रतिनिधिको सहभागिता थियो । भेटमा ओलीले प्रतिनिधिहरूलाई अनावश्यक बहकाउमा नलाग्न आग्रह गरेका छन् । उनले सहमतिबाट नै नेतृत्व चयनको लागि प्रयास भइरहेको बताउँदै महाधिवेशन बाहिर चर्चा गरिएजस्तो तिक्ततापूर्ण प्रतिस्पर्धा नहुने दाबी गरेका ओलीसँगको भेटमा सहभागी एमाले बागमती प्रदेश कमिटी सदस्य आनन्द श्रेष्ठले जानकारी दिए ।

भेटका क्रममा नेताहरूले अध्यक्ष ओलीलाई जिल्लाको वस्तुस्थिति बारे संक्षिप्त जानकारी गराएका थिए । अध्यक्ष ओलीलाई भेट्न पार्टी पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाई, केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव माधव ढुङ्गेल, केन्द्रीय सदस्य गीता कार्की, वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल तथा जिल्लाबाट प्रतिनिधि छानिएका नेताहरू गुण्डु पुगेका हुन् । एमालेको महाधिवेशनमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच प्रतिष्र्धा हुने चर्चा छ । पोखरेल पक्षमा पूर्व राष्ट्रपति विद्या भण्डारी समेत खुलेपछि ओलीले महाधिवेशन प्रतिनिधिलाई आफूतिर आकर्षित गर्न विभिन्न प्रयास गरिरहेका छन् ।

चार महिने छोराको हत्या र पत्नी कुटेर भागेका असई पक्राउ

काठमाडौँ । आफ्नै चार महिने छोराको घाँटी रेटेर हत्यापछि पत्नी कुटेर फरार रहेको आरोपमा नेपाल प्रहरीका असई पुष्कर कार्की पक्राउ परेका छन् । आइतबार दिउँसो सिनामंगलस्थित कोठा भाडा लिएर बसेका कार्कीले छोराको घाँटी रेटेर हत्या गरेका थिए भने श्रीमतीलाई कुटपिट गरेका थिए । त्यसपछि फरार भएका असई कार्कीलाई बेलुकी नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार जन्मेदेखि नै ब्रेन ट्युमरका कारण बिरामी रहेर उपचाररत शिशु सुतेकै अवस्थामा रहेका बेला असई कार्कीले धारिलो हतियार प्रयोग गरी उनको हत्या गरेका हुन् । पक्राउ परेका कार्की अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीको नियन्त्रण कक्षमा छन् । प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ । श्रीमती पनि प्रहरी हुन् ।

‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’

काठमाडौं । पछिल्लो समय विदेशी विनिमय दरको भाउ बढिरहेको छ । भाउ बढ्दा नेपाललाई लाभ भन्दा पनि नोक्शानी बढी हुने गरेको छ । नेपालमा पर्यटन, रेमिट्यान्स जस्ता क्षेत्रमा विदेशी विनिमय दर बढ्दा लाभ मिलेपनि वस्तुदेखि, प्रविधिसम्म आयात गर्दा नेपालको लागत बढ्न जाने नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । उनकाअनुसार अर्थतन्त्रको तागत र आम नागरिकको सेन्टिमेन्टको आधारमा करेन्सीको मूल्य निर्धारण हुने गर्दछ । नेपालको अर्थतन्त्र बलियो हुँदै गए पनि अहिले भने लाभ भन्दा नोक्सानी बढिरहेको उनको बुझाइ छ ।

पूर्व कार्यकारी निर्देशक थापाकाअनुसार नेपालबाट विदेश पढ्न जानेको ओइरो नै लाग्ने गरेको छ । नेपाली मुद्रा कमजोर भई विदेशी मुद्रा बलियो हुँदा नेपाली विद्यार्थी प्रत्यक्ष रुपमा प्रभावित हुनेछन् । विदेशी विनिमय बलियो हुँदा वैदेशिक ऋणको चपेटामा परेको देशलाई त्यसको दायित्व व्वस्थापन गर्न कठिन हुन्छ । बजेटमा एउटा रकम दायित्व व्यवस्थापनका लागि छुट्याइने र नेपाली मुद्रा कमजोर बन्दा व्यवस्थापना छुट्याइएको रकम अपुग हुने खतरा बढ्ने र त्यसले बजेटसम्म असर गर्ने थापाको बुझाइ छ । विदेशी विनिमयदरको निर्धारण, भाउमा देखिएको उत्तारचढाव र त्यसले पार्ने प्रभावका बारेमा राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापासँग गरिएको कुराकानीको सम्पादित अंशः

करेन्सीको मूल्य कसरी निर्धारण हुन्छ ?
– अर्थतन्त्रको तागत र आमनागरिकको सेन्टिमेन्टको आधारमा करेन्सीको मूल्य निर्धारण हुने गर्दछ । हाम्रो अर्थतन्त्र बलियो हुँदै गएको छ । आम नागरिक, आयात, निर्यातकर्तासहितको सेन्टिमेन्टको आधारमा सेयर बजारको भाउ जस्तै मुद्राको भाउ तल माथि हुने गर्छ ।

भाउ बढ्दा कसलाई फाइदा हुन्छ ?
– करेन्सीको भाउ तलमाथि हुँदा मूल्यको प्रभाव हुन्छ । यसको लागत कसैले न कसैले व्यहोर्नुपर्ने हुन्छ र यसबाट लाभ पनि हुन्छ । विनिमय दर तल माथि हुँदा त्यसको लागत कुनै क्षेत्रले व्यहोर्नुपरेझैं मुद्राको भाउ तल माथि हुँदा कुनै क्षेत्र कुनै व्यक्ति समूहलाई लाभ पनि भइराखेको हुन्छ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने यदि डलर बलियो भयो भने पर्यटन क्षेत्रले लाभ पाउछ, नेपालमै भ्रमण सस्तो भएर विदेशीहरु सस्तो डिल गरेर आउन पाउँछन् । यसकारण नेपाल सिद्धान्त बढी पर्यटन आउन सक्छन् र पर्यटन क्षेत्रलाई लाभ हुन्छ । त्यस्तै, विनिमय दर बढ्दा नेपालमा वस्तु निर्यात गरिराखेका व्यवसायीहरुलाई पनि लाभ हुन्छ । वस्तु निर्यात गर्दा हिजो १४० रुपैयाँ पाउँथ्यो भने आज आज १ सय ४४ रुपैयाँ पाउँछ, ४ रुपैंयाँ उसलाई फाइदा भयो । तेस्रो, विदेशमा काम गरिराखेका रेमिटेन्स पठाइराखेका नेपालीहरुलाई पनि लाभ हुन्छ । हिजो एक डलर पठाउदा १ सय ४० रुपैंयाँ घर परिवारले पाउँथ्यो भने अब १४४ रुपैंयाँ पाउने भयो । त्यसैले विदेशी मुद्रा बढ्दा पर्यटन, निर्यात क्षेत्रसँगै विदेशमा काम गरेर नेपालीहरुले घर परिवारहरुलाई रेमिट्यान्स पठाउँदा लाभ हुन्छ ।

भाउ बढ्दा नेपालले कस्तो खालको नोक्सानी व्यर्होर्नु पर्छ ?
– करेन्सीको भाउ बढ्दा हामीलाई नोक्सानी पनि हुने गरेको छ । भाउ बढ्दा यसको लागत पनि वृद्धि हुन्छ । हामी धेरै भन्दा धेरै वस्तुतहरु आयात गर्छौं । हामीलाई अत्यावश्यक औद्योगिक कच्चा पदार्थ, अत्याधुनिक मेसिन, प्रविधि, भित्र्याउनु पर्छ । नेपालबाट वैदेशिक अध्ययनमा विदेश जाँदा हाम्रो मुद्रा कमजोर हुँदा असर पर्छ, अनि नेपालको वैदेशिक ऋण पनि छ, जिडीपीको झण्डै २२ प्रतिशत नेपालको वाह्य ऋण छ, त्यसको साबा, ब्याज भुक्तानी गर्नुपर्ने हुन्छ । हिजो बजेट बनाउदाँ के आँकलन गरिएको थियो र एक्कासी विनिमयदर तल माथि हुँदा डलर बलियो र नेपाली रुपैयाँ कमजोर बन्दा दायित्व बढ्न जाने र दायित्व व्यवस्थापनका लागि छुट्टाइएको बजेट अपुग हुन पनि सक्छ । नेपाली रुपैंयाँ कमजोर हुँदा वैदेशिक ऋणको दायित्व भुक्तानीमा सरकारले बढी बजेट विनियोजन गर्नुपर्ने अनि त्यसको भुक्तानी गर्न उचित बजेटको व्यवस्था छैन भने हम्मेहम्मे पर्छ । विनिमय दर बढ्दा बजेटमा प्रतिकूल असर पर्नुका साथै पेट्रोलियम पदार्थको आयातको मूल्य बढ्न जान्छ ।

औद्योगिक कच्चा पदार्थको मूल्य पनि बढेर जान्छ । नेपालको वस्तु निर्यातको क्षमता छैन । रेमिटन्स जीडीपीको २८ प्रतिशत छ । स्वदेशी रोजगारी रेमिटेन्ससँग जोडिएको कारणले हामीलाई धेरै लाभ हुँदैन । वस्तु निर्यात गर्ने क्षमता यदि नेपालको भएको भए खास गरी तेस्रो मुलुकमा अहिले यो डलरको मूल्य १ सय ४० बाट १ सय ४४ सम्म पुग्दा देशलाई धेरै लाभ हुन्थ्यो । देशभित्र रोजगारी सिर्जना हुनुका साथै उत्पादन पनि बढ्थ्यो तर हाम्रो उत्पादन क्षमता अत्यन्त कमजोर भयो । जीडीपीको करिव साढे ४ प्रतिशत निर्यातको अवस्था देखाइएको छ । वास्तविक २.७ प्रतिशत हो । यो भटमासको त्यो तेल आयात गरेर फेरि भारतमा निर्यात गरेको कारणले साढे चार पाच प्रतिशत निर्यात जीडीपीको तुलनामा देखिएको छ र अत्यन्तै न्युन छ । त्यसैले डलर बलियो हुदा अर्थतन्त्रले सिद्धान्त जुन लाभ लिनुपर्ने त्यो लाभ लिनसक्ने स्थिति छैन ।

 

मन्त्री बनौंला–नबनौंला, तर जनताको सेवा सधैँ गर्न पाउँ : डा. सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले इमान्दारितापूर्वक नेपाली जनताको सेवा गर्ने अवसर प्राप्त हुनेमा विश्वस्त रहेको बताएका छन् । प्रतिनिधि सभा निवाृचनका लागि मोरङ—३ बाट सर्वसम्मत सिफारिस भएका शर्माले सोही कार्यक्रमस्थलमा यस्तो बताएका हुन् । उनले २०८२ सालमा निर्वाचन हुनेमा आशंका व्यक्त गर्दै कांग्रेसले मोरङ—३ मा जस्तै अन्य स्थानमा पनि मेलमिलापसहित प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गर्नुपर्ने बताए ।

देशभरका १६४ क्षेत्रले यसलाई रोल मोडलको रुपमा मानेर आम देशभरका नेपाली कांग्रेसका नेता–कार्यकर्ताले आफ्नो आफ्नो क्षेत्रमा आफ्ना उम्मेदवारलाई निर्विरोध गरेर नयाँ सञ्चारसहित कांग्रेसलाई नयाँ उर्जा भरेर मुलुकभर लैजानुपर्ने बताए । आफू मन्त्री हुने वा नहुने अर्को पाटो भए पनि इमान्दारितापूर्वक नेपाली जनताको सेवा गर्ने प्रतिवद्धता जनाए ।

उनले भने, ‘यो ०८२ सालमा चुनाव हुन्छ–हुँदैन थाहा छैन । चुनाव भयो भने नेपाली कांग्रेसलाई एउटा ठूलो सन्देश हो, कांग्रेस पार्टीभित्र हृदयबाटै मेलमिलापसहित प्रतिनिधि सभामा अरु ठाउँमा पनि सर्वसम्मत हुन सक्दो रहेछ भने जस्तै देशभरका १६४ क्षेत्रले यसलाई रोल मोडलको रुपमा मानेर आम देशभरका नेपाली कांग्रेसका नेता–कार्यकर्ताले आफ्नो आफ्नो क्षेत्रमा आफ्ना उम्मेदवारलाई निर्विरोध गरेर नयाँ सञ्चारसहित काँग्रेसलाई नयाँ उर्जा भरेर मुलुकभर लैजानु हुन्छ, नेपाली कांग्रेसले फेरि पनि बहुमत ल्याउँछ, त्यो सबैभन्दा ठूलो सफलता हो र ३ नम्बर क्षेत्रका सबै नेताहरु नेपाली कांग्रेसका कार्यकर्ता र नेताहरु धन्यवादको पात्र हुनुहुन्छ । मन्त्री हौंला नहोला फरक कुरा हो । तर इमान्दारितापूर्वक नेपाली जनताको सेवा गर्ने अवसर भगवानले प्रदान गर्नु हुनेछ ।’

निर्वाचन क्षेत्र नम्बर ३ का जनताले डा. शर्माको विकल्प नभएको बताए । मन्त्री बन्ने आशिर्वाद आफूहरुले दिनुपर्ने बताए । प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ—३ बाट नेपाली कांग्रेसले शर्माको एकल नाम सिफारिस गरेको हो । क्षेत्रीय समितिको बैठकले डा. शर्मालाई आगामी हुने प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेसँगै नेपालभर नै नेपाली कांग्रेसको उम्मेदवार हुन सिफारिस हुनेमा डा. शर्मा पहिलो समेत भएका छन् । कांग्रेस केन्द्रले प्रत्येक क्षेत्रबाट एक महिलासहित तीन जनासम्मको नाम सिफारिस गर्न सर्कुलर पठाएकोमा मोरङ—३ मा भने अन्य कुनै नेताले उम्मेदवारी दाबी गरेनन् ।

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच आज वार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच आज (सोमबार) भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री कार्कीले औपचारिक पत्र पठाएर संवादका लागि आमन्त्रण गरेपछि दुवै पक्षबीच पहिलो पटक वार्ता हुन लागेको हो । वार्ता दिउँसो ३ बजे हुने बताइएको छ ।

प्रसाईंले राजसंस्थाको पुनःस्थापना, नेपाललाई हिन्दु अधिराज्यको रूपमा पुनर्गठन लगायतका माग राख्दै सरकारलाई ती माग पूरा गर्न दबाब दिइरहेका छन् । उनले आफ्नो माग स्वीकार नभए देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिंदै आएका छन् । सरकारको तर्फबाट आजको वार्तालाई राजनीतिक रूपमा अत्यन्त संवेदनशील मानिएको छ ।

एमाले उपाध्यक्षका दावेदार आचार्य महाधिवेशन अघि नै अख्तियारको फन्दामा

काठमाडौं । आगामी पाँच दिनपछि सुरु हुन लागेको नेकपा (एमाले) को ११औं महाधिवेशन अगाडि उपाध्यक्षका दावेदार भीमप्रसाद आचार्य भ्रष्टाचार प्रकरणमा मुछिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचारको आरोपमा आइतबार ५५ जनाविरुद्ध मुद्दा दायर गर्दा त्यसमा आचार्य समेत समावेश भएका हुन् ।

आचार्य महाधिवेशनका लागि उपाध्यक्ष पदमा उम्मेदवारीको तयारीमा थिए र पछिल्ला दिनमा प्रतिनिधिहरूसँग निरन्तर संवादमा व्यस्त थिए । तर मुद्दा दर्ताले उनको राजनीतिक योजनामै नयाँ चुनौती थपिएको छ । पार्टीभित्रै यसबारे छलफल सुरु भएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जनाएका छन् । उनका अनुसार सांवैधानिक तथा कानूनी प्रावधानका आधारमा पार्टीले आधिकारिक धारणा बनाउनेछ ।

अख्तियारले आचार्यमाथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सञ्चालक समितिका अध्यक्षको हैसियतले भ्रष्टाचार भएको आरोप लगाएको छ । आचार्य २०७१ सालमा सुशील कोइराला नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । उनी कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा विघटित प्रतिनिधि सभाका सांसद समेत हुन् । २०७९ सालको निर्वाचनमा उनी सुनसरी–२ बाट विजयी भएका थिए ।

मुद्दा दायर भएको केही घण्टामै आचार्यले सात बुँदामा विस्तृत स्पष्टीकरण सार्वजनिक गर्दै आफू निर्दोष रहेको दाबी गरेका छन् । उनका अनुसार विमानस्थलको लागत निर्धारण, ठेक्का प्रक्रिया, डिजाइन परिमार्जन तथा आइटम थप गर्ने सबै काम आफू मन्त्री हुनुअगाडि नै सकिएको थियो ।

भीम आचार्यका यस्ता छन् तर्क
ठेक्का प्रक्रियामा आफ्नो संलग्नता नपरेको दाबी
आचार्यका अनुसार माओवादी केन्द्र नेतृत्वको अघिल्लो सरकारले चीनसँग पटक–पटक वार्ता गरी ठेक्काको मोडल, विस्तृत अध्ययन प्रतिवेदन, उपकरण थप, लागत अनुमान तथा प्रक्रियागत परिवर्तनसम्बन्धी निर्णय गरिसकेकाले आफूलाई जिम्मेवार ठहर्याउन मिल्दैन ।

लागत बढाइएको होइन, प्राविधिक परिमार्जनका कारण स्वाभाविक वृद्धि
उनले परिमार्जित डिजाइन र थपिएका उपकरणका कारण लागत बढेको भए पनि यो ‘बढाइएको’ होइन ‘बढेको’ मात्र हो भनी व्याख्या गरे । दातृ देशको आग्रहमा बीओक्यूबाट ईपीसी मोडलमा बदलिँदा नेपाल राष्ट्र बैंकको प्राइस इन्डेक्सअनुसार हुने मूल्य–समायोजन वैधानिक तथा स्वाभाविक भएको उनको तर्क छ । आचार्यले प्रस्तुत गरेको लागत २१५.९६५ मिलियन डलर प्रारम्भिक अध्ययन, कन्सल्टेन्ट मूल्यांकन तथा कम्तीमा राखिएको बोलभन्दा पनि कम रहेको दाबी गरेका छन् ।

सम्झौता कण्डिसनल भएको र सार्वजनिक खरिद ऐन नलाग्ने प्रष्टिकरण
उनले २०७१ जेठ ८ मा गरिएको कन्ट्रयाक्ट एग्रीमेन्ट दुवै सरकारबीच ऋण सम्झौता भएपछि मात्र लागू हुने कण्डिसनल दस्तावेज भएको बताए । जि–टु–जि मोडलमा अघि बढाइएको भएकाले सार्वजनिक खरिद ऐन र नियमावली प्रत्यक्ष लागू नहुने तर्क उनले दोहो¥याएका छन् ।

लेखा समितिको छानबिन राजनीतिक प्रेरित रहेको आरोप
उनका अनुसार सार्वजनिक लेखा समितिको उपसमितिको विवादास्पद निष्कर्ष राजनीतिक उद्देश्यले प्रेरित थियो, जसलाई मुख्य समितिले पूर्ण रूपमा स्वीकार नगरी केवल ‘आवश्यक छानबिन’ गर्न निर्देशन दिएको थियो ।

ईपीसी मोडल देशकै हितमा भएको दाबी
आचार्यले मेलम्ची र माथिल्लो तामाकोशी जस्ता आयोजना वर्षौ ढिलो भई लागत वृद्धि भोगेको उदाहरण दिँदै ईपीसी मोडलको निश्चितता र समयमै निर्माण हुने सम्भावना देशका लागि फाइदा हुने ठहरिएको बताए ।

निर्माण चरणमा गल्ती भए कारबाही गर्न अख्तियार स्वतन्त्र
विमानस्थल निर्माण क्रममा कमसल काम वा उपकरण प्रयोग भएको भए अख्तियारले छानबिन गरी कारबाही गर्न सक्ने कानूनी व्यवस्था रहेको, त्यसैले आफूमा लागेको आरोप निर्माण चरणमा आधारित नभएको उनको भनाइ छ ।

एमसीसी–भूमण्डलीय प्रतिष्पर्धा र सहयोगको आवश्यकता
आचार्यले चीन, अमेरिका, भारत, युरोप जस्ता शक्ति राष्ट्रसँग नेपालले सन्तुलित कूटनीतिक सम्बन्ध राख्नुपर्ने औंल्याउँदै पोखरा विमानस्थल चिनियाँ सरकारको सहयोगमा बनेको परियोजना भएकाले गलत राजनीतिक व्याख्याबाट जोगिन आग्रह गरेका छन् । आचार्यमाथि दायर मुद्दाले महाधिवेशन पूर्व एमालेभित्रै चर्चा चुलिएको छ । पार्टीले कानुनी विश्लेषणपछि मात्र धारणा तय गर्ने बताइए पनि यसले आचार्यको उपाध्यक्ष दाबीमा अवरोध रूपले असर गर्न सक्छ । घटनाक्रमले एमालेभित्र नेता छनोट, पार्टी छवि र महाधिवेशनको वातावरणमै नयाँ बहस सिर्जना गरेको छ ।