`

बालेन सरकारका तीन महिना : ५८४ कर्मचारी राजीनामा दिन बाध्य

काठमाडौं। वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन भएको तीन महिनामै निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको संख्या उल्लेखनीय रूपमा बढेको छ।

राष्ट्रिय किताबखानाको तथ्याङ्कले सरकारले नयाँ निजामती सेवा ऐन ल्याउने तयारी थालेपछि विशेषगरी वरिष्ठ कर्मचारीहरू स्वेच्छिक रूपमा सेवा छाड्ने क्रम तीव्र भएको देखाएको हो।

सरकारले निजामती प्रशासनको पुनःसंरचना, मन्त्रालय तथा विभागको संख्या घटाउने र कर्मचारी व्यवस्थापन प्रणालीलाई नयाँ ढाँचामा लैजाने तयारी गरिरहेका बेला कर्मचारी प्रशासनभित्र भविष्यप्रतिको अन्योल बढेको देखिन्छ।

विशेषगरी प्रस्तावित ‘३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर’को अवकाश व्यवस्थाले धेरै कर्मचारीलाई अहिले नै राजीनामा दिन प्रेरित गरेको कर्मचारी वृत्तको भनाइ छ।

तीन महिनामै पाँच सयभन्दा बढी कर्मचारीको राजीनामा

राष्ट्रिय किताबखानाका अनुसार २०८३ साल सुरु भएयता हालसम्म ५ सय ८४ जना कर्मचारीको राजीनामा स्वीकृत भइसकेको छ। तीमध्ये बालेन नेतृत्वको सरकार गठनपछिका तीन महिनामै सहसचिव, उपसचिवदेखि विभिन्न तहका कर्मचारीको संख्या उल्लेखनीय रूपमा बढेको छ।

तथ्याङ्कअनुसार हालसम्म ६ जना सहसचिव र १७ जना उपसचिवले सेवा छाडिसकेका छन्। असार महिनामा मात्रै राजीनामाको दर झन् तीव्र भएको छ। असार १ गतेदेखि १५ गतेसम्म मात्रै १ सय ३५ जना कर्मचारीले राजीनामा दिएका छन्।

राष्ट्रिय किताबखानाका अनुसार राजीनामाको संख्या बढेको देखिए पनि त्यसको कारण सम्बन्धित निकायबाट खुलाएर नआउने भएकाले आधिकारिक रूपमा भन्न सकिने अवस्था छैन। यद्यपि कर्मचारी प्रशासनमा नयाँ निजामती सेवा ऐनको तयारीलाई नै यसको मुख्य कारणका रूपमा हेरिएको छ।

किन बढ्दैछ राजीनामा?

सरकारी कर्मचारीहरूको मुख्य चिन्ता प्रस्तावित नयाँ निजामती सेवा ऐनसँग जोडिएको छ।

सरकारले तयार गरिरहेको मस्यौदामा ३० वर्ष सेवा अवधि पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्था राख्ने चर्चा कर्मचारी प्रशासनमा छ। यद्यपि अन्तिम विधेयक अझै सार्वजनिक भएको छैन।

हाल निजामती सेवामा ५८ वर्ष उमेर पुगेपछि मात्रै अवकाश हुन्छ भने सेवा अवधिको कुनै सीमा छैन। त्यसैले धेरै कर्मचारी ३० वर्षभन्दा बढी सेवा गरेर अतिरिक्त सेवा अवधिका आधारमा पेन्सन तथा अन्य सुविधा प्राप्त गरिरहेका छन्।

तर नयाँ व्यवस्थाले ३० वर्षभन्दा बढी सेवा अवधिलाई पेन्सन गणनामा समावेश नगर्न सक्ने आशंकाले विशेषगरी लामो समयदेखि सेवामा रहेका कर्मचारीहरू सबैभन्दा बढी प्रभावित हुने देखिन्छ।

कर्मचारी वृत्तका अनुसार अहिले नै राजीनामा दिए हालको कानुनी व्यवस्थाअनुसार सम्पूर्ण सेवा अवधि गणना गरेर पेन्सन प्राप्त हुन्छ।

तर नयाँ ऐन लागू भएपछि ३० वर्षभन्दा बढी सेवा अवधि गणना नहुने व्यवस्था भए पेन्सन तथा अन्य अवकाश सुविधामा उल्लेख्य कमी आउन सक्ने उनीहरूको बुझाइ छ।

अहिले २०४९ सालअघि सेवा प्रवेश गरेका कर्मचारीका हकमा ५८ वर्षमा अवकाश भए पनि ६० वर्षलाई आधार मानेर पेन्सन गणना हुने व्यवस्था छ। नयाँ कानुनमा ५५ वा ५८ वर्षलाई मात्रै आधार बनाइए सेवासुविधामा थप असर पर्ने उनीहरूको चिन्ता छ।

कर्मचारी प्रशासनभित्र अर्को प्रवृत्ति पनि देखिएको छ।

सरकारले हालै कर्मचारीको तलब वृद्धि गरेकाले साउनदेखि बढेको तलबका आधारमा पेन्सन गणना हुने अपेक्षामा धेरै कर्मचारी तत्काल राजीनामा नदिई साउन कुर्दै बसेको बताइन्छ।

यसका कारण साउनपछि राजीनामा दिने कर्मचारीको संख्या अझ बढ्न सक्ने आकलन कर्मचारी प्रशासनमै भइरहेको छ।

राजीनामा बढ्नुको अर्को कारण सरकारको प्रशासनिक पुनःसंरचना पनि मानिएको छ।

वर्तमान सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारेको छ। यससँगै विभाग, कार्यालय तथा सार्वजनिक निकायहरूको पुनःसंरचना र केही संस्था खारेज गर्ने तयारी अघि बढिरहेको छ।

यसले जिम्मेवारी, सरुवा, पदस्थापन तथा भविष्यबारे कर्मचारीमा अन्योल बढाएको कर्मचारी वृत्तको भनाइ छ। विशेषगरी वरिष्ठ तहका कर्मचारीहरू सरुवा प्रणाली र भावी जिम्मेवारीबारे असन्तुष्ट देखिएका छन्।

सरकारले कर्मचारीका लागि केही आकर्षक सुविधा पनि विस्तार गरेको छ। तलब वृद्धि, सातामा दुई दिन बिदा, महिनामा दुई पटक तलब वितरण तथा आयकरसम्बन्धी केही सहुलियतको व्यवस्था गरिएको छ।

तर तत्काल प्राप्त हुने सुविधाभन्दा अवकाशपछिको सेवा सुरक्षा, पेन्सन र दीर्घकालीन लाभमा पर्ने प्रभावलाई कर्मचारीहरूले बढी महत्व दिएका कारण राजीनामा बढेको विश्लेषण गरिएको छ।

सरकारले भने निजामती प्रशासनलाई चुस्त, परिणाममुखी र उत्तरदायी बनाउन नयाँ निजामती सेवा ऐन आवश्यक रहेको बताउँदै आएको छ।

सरकारको धारणा अनुसार हालको निजामती संरचनालाई समयअनुकूल बनाउन उमेर, सेवा अवधि, कार्यसम्पादन मूल्याङ्कन, सरुवा प्रणाली तथा डिजिटल प्रशासनलाई नयाँ ढाँचामा लैजान खोजिएको हो।

यद्यपि कर्मचारी संगठनहरूले पर्याप्त छलफल र संक्रमणकालीन व्यवस्था बिना नयाँ ऐन लागू गरिए प्रशासनमा ठूलो असर पर्ने चेतावनी दिइरहेका छन्।

ऐन सार्वजनिक नहुँदै बढ्यो दबाब

नयाँ निजामती सेवा ऐनको अन्तिम मस्यौदा अझै सार्वजनिक भएको छैन। सरकारले पनि ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेरसम्बन्धी व्यवस्था अन्तिम निर्णय भइनसकेको जनाएको छ।

तर विधेयक संसद्मा पुग्नुअघि नै सम्भावित व्यवस्थालाई आधार मानेर कर्मचारीहरूले राजीनामा दिन थालेपछि सरकारको प्रशासनिक सुधार योजनामाथि दबाब बढेको छ।

यदि ऐनमा कर्मचारीहरूले आशंका गरेअनुसारको व्यवस्था समेटियो भने साउनपछि स्वेच्छिक अवकाश लिने वरिष्ठ कर्मचारीहरूको संख्या अझ बढ्न सक्ने देखिन्छ।

त्यसले प्रशासनमा अनुभवी जनशक्तिको कमी ल्याउने जोखिम त रहनेछ नै, सरकारले अघि सारेको निजामती सुधारको प्रभावकारितामाथि पनि प्रत्यक्ष असर पर्न सक्ने विश्लेषण गरिएको छ।

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

काठमाडौं । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्अन्तर्गत विश्वव्यापी आवधिक समीक्षा (युनिभर्सल पिरियडिक रिभ्यु–युपीआर) को चौथो चक्रअन्तर्गत नेपालको प्रतिवेदन पारित भएको छ ।

सन् २०२६ जुन ३० मा जेनेभामा आयोजित मानव अधिकार परिषद्को ६२औँ सत्रले नेपालको प्रतिवेदन औपचारिक रूपमा अनुमोदन गरेको हो ।

कार्यक्रममा नेपाल सरकारका तर्फबाट संयुक्त राष्ट्रसंघ जेनेभास्थित स्थायी प्रतिनिधि राजदूत रामप्रसाद सुवेदी, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मीहिर ठाकुर, विभिन्न सदस्य राष्ट्रका प्रतिनिधि, संयुक्त राष्ट्रसंघका निकाय तथा नागरिक समाजका प्रतिनिधिहरूले मन्तव्य राखेका थिए ।

कार्यक्रममा नागरिक समाजका तर्फबाट महिला, कानून र विकास मञ्च (एफडब्लुएलडी) र इक्वालिटी नाउको प्रतिनिधिको रुपमा अधिवक्ता सबिन श्रेष्ठले संयुक्त मौखिक वक्तव्य प्रस्तुत गर्दै नेपालको मानवअधिकार कानुनमा सुधार गर्नुपर्ने तीन महत्वपूर्ण विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए ।

जबरजस्ती करणीको परिभाषा फराकिलो बनाउन माग

श्रेष्ठको वक्तव्यमा सबैभन्दा पहिलो विषयका रूपमा मुलुकी अपराध संहितामा रहेको जबरजस्ती करणीको कानुनी परिभाषा संशोधन गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो । हालको कानुनी व्यवस्थाले सबै प्रकारका असहमतिपूर्ण यौनजन्य प्रवेशलाई पूर्ण रूपमा समेट्न नसकेको भन्दै पीडितको सहमतिलाई केन्द्रमा राखेर जबरजस्ती करणीको परिभाषा विस्तार गर्न आग्रह गरिएको थियो ।

नागरिक समाजले अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डअनुसार कानुन संशोधन गरी सबै प्रकारका असहमतिपूर्ण यौन सम्पर्कलाई जबरजस्ती करणीको रूपमा कानुनी मान्यता दिनुपर्नेमा जोड दिएको छ ।

हदम्याद हटाउन अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

दोस्रो प्रमुख विषयका रूपमा जबरजस्ती करणीसम्बन्धी उजुरी दर्ताको हदम्यादलाई पूर्ण रूपमा हटाउन माग गरिएको थियो । सामाजिक लाञ्छना, धम्की, मानसिक आघात तथा न्यायमा पहुँचको अभावका कारण धेरै पीडितले समयमै उजुरी दिन नसक्ने अवस्था रहेको नागरिक समाजको भनाइ छ ।

विशेषगरी द्वन्द्वकालीन यौन हिंसाका पीडितहरू हदम्यादका कारण न्यायबाट वञ्चित भइरहेको उल्लेख गर्दै यस्तो कानुनी व्यवस्था खारेज गर्न आग्रह गरिएको हो ।

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलालाई कानुनी संरक्षणको माग

वक्तव्यमा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१ को प्रभावकारितामाथि पनि प्रश्न उठाइएको छ । उक्त ऐन औपचारिक क्षेत्रमा मात्र प्रभावकारी रूपमा लागू भएकाले घरेलु श्रमिक, कृषि मजदुर, निर्माण क्षेत्रमा कार्यरत महिला तथा अन्य अनौपचारिक क्षेत्रका श्रमिकहरू कानुनी संरक्षणबाट वञ्चित रहेको नागरिक समाजले जनाएको छ । यस कारण ऐनलाई संशोधन गरी सबै श्रमिकसम्म समान रूपमा लागू गर्न माग गरिएको छ ।

नेपालको चौथो चक्रअन्तर्गतको युपीआर समीक्षा सन् २०२६ जनवरी २१ मा सम्पन्न भएको थियो । त्यसपछि फेब्रुअरी ३ मा युपीआर कार्यसमूहले नेपाललाई मानवअधिकारका विभिन्न क्षेत्रमा सुधार गर्न २८४ वटा सिफारिस प्रदान गरेको थियो ।

यी सिफारिसहरूमा महिला, कानून र विकास मञ्चले सन् २०२५ जुलाईमा संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्समक्ष पेश गरेका चारवटा वैकल्पिक प्रतिवेदनका महत्वपूर्ण विषयहरू पनि समावेश भएका छन् । ती प्रतिवेदनहरू यौन तथा प्रजनन स्वास्थ्य अधिकार, बाल अधिकार, महिला तथा बालिकामाथि हुने यौन हिंसा तथा अपाङ्गता भएका व्यक्तिको अधिकारमा केन्द्रित थिए ।

नेपाललाई विभिन्न सदस्य राष्ट्रहरूले मानवअधिकार सुधारका लागि महत्वपूर्ण सुझाव दिएका छन् । ब्राजिल, गाम्बिया र आयरल्यान्डले बालविवाहसम्बन्धी कानुन संशोधन गरी बालविवाहमा संलग्न बालबालिकालाई अपराधी होइन, पीडितका रूपमा स्वीकार गर्न तथा उनीहरूको पुनःस्थापनालाई प्राथमिकता दिन सिफारिस गरेका छन् ।

त्यस्तै आइस्ल्यान्ड, फ्रान्स र जर्मनीले गर्भपतनको थप निरअपराधीकरण, सुरक्षित यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितता तथा प्रसूति हिंसालाई सम्बोधन गर्ने कानुनी सुधार गर्न सुझाव दिएका छन् ।

बुल्गेरियाले अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न, राष्ट्रिय अपाङ्गता कोषलाई प्रभावकारी बनाउन तथा पुनःस्थापना सेवाको विस्तार गर्न सिफारिस गरेको छ ।

नेपालले प्राप्त २८४ सिफारिसमध्ये २२५ वटा औपचारिक रूपमा स्वीकार गरेको जनाएको छ । त्यस्तै ५७ वटा सिफारिसलाई ‘नोट’ गरेको छ भने दुई वटा सिफारिसमा टिप्पणी प्रस्तुत गरेको छ । युपीआर प्रक्रियाअन्तर्गत स्वीकार गरिएका सिफारिसहरू आगामी वर्षहरूमा कार्यान्वयन गर्नु नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता हुनेछ ।

मानवअधिकारको संरक्षण, कानुनी सुधार र न्यायमा पहुँच सुनिश्चित गर्न अब सरकारले ती सिफारिसलाई व्यवहारमा उतार्ने चुनौती सामना गर्नुपर्ने देखिएको छ ।

मन्त्री,सांसद र रास्वपा नेताहरूको गाडीमै कालो सिसा

काठमाडौं। प्रहरीले सवारीसाधनमा जडान गरिएका कालो सिसा हटाउने अभियान देशभर तीव्र बनाइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित केही नेताहरूले प्रयोग गर्ने गाडीमा पनि कालो सिसा रहेको पाइएको छ।

प्रहरी प्रधान कार्यालयले मंगलबार सातै प्रदेशका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलाई सार्वजनिक तथा निजी सवारीसाधनमा जडान गरिएका कालो सिसा हटाउन सर्कुलर जारी गरेको थियो। सोही अभियानका बीच रास्वपाका सभापति, केही मन्त्री, सांसद तथा कार्यकर्ताले प्रयोग गर्ने सवारीमा कालो सिसा प्रयोग भएको देखिएको हो।

यसअघि असार १५ गते उपत्यका ट्राफिक प्रहरी कार्यालयले तत्कालीन गृहमन्त्री सुधन गुरुङ र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले प्रयोग गरेको गाडीमा टाँसिएको कालो सिसाको स्टिकर हटाएको थियो।

ट्राफिक प्रहरीले असार १४ गतेदेखि काठमाडौं उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीसाधनमा जडान गरिएका कालो सिसाका स्टिकर हटाउने अभियान सुरु गरेको हो। पहिलो चरणमा स्टिकर हटाउने कार्य भइरहेको छ भने कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारीको सिसा परिवर्तन गर्ने विषयमा गाडी बिक्रेता कम्पनीहरूसँग पनि छलफल भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कालो सिसाले सवारीभित्रको गतिविधि बाहिरबाट देख्न कठिन हुने भएकाले सुरक्षा, अपराध नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो अभियान सञ्चालन गरिएको हो।

तस्वीरहरू:

ट्रम्पले क्रिप्टोबाट एक वर्षमै कमाए एक अर्ब डलर

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोकरेन्सी कारोबारबाट एक वर्षमै करिब एक अर्ब अमेरिकी डलर आम्दानी गरेको विवरण सार्वजनिक गरेका छन्।

अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने आर्थिक विवरणमा उनले सन् २०२५ को आम्दानीसम्बन्धी जानकारी दिएका हुन्।

ट्रम्पले ९२७ पृष्ठ लामो आर्थिक प्रतिवेदनमा आफ्नो सम्पत्ति, व्यवसाय र विभिन्न स्रोतबाट भएको आम्दानी उल्लेख गरेका छन्। त्यसअनुसार सबैभन्दा ठूलो आम्दानी क्रिप्टोकरेन्सी कारोबारबाट भएको देखिएको छ।

ह्वाइट हाउसकी प्रेस सचिव एन्ना केलीले ट्रम्पको क्रिप्टो नीतिको प्रशंसा गर्दै अमेरिकालाई विश्वको ‘क्रिप्टो राजधानी’ बनाउने दिशामा उनले नेतृत्व गरेको बताएकी छन्। ट्रम्प वा उनका परिवारका सदस्यले कुनै पनि निर्णयमा स्वार्थ बाझिने अवस्था सिर्जना नगरेको उनको दाबी छ।

प्रतिवेदनअनुसार ट्रम्पले आफ्नै नाममा बिक्री हुने बाइबल, घडी, अत्तर र गितारबाट प्राप्त रोयल्टीमार्फत करिब ४७ लाख अमेरिकी डलर आम्दानी गरेका छन्।

त्यस्तै, फ्लोरिडास्थित उनको ‘मार–ए–लागो’ रिसोर्टबाट ७ करोड ७० लाख अमेरिकी डलर र त्यही राज्यमा रहेको गल्फ कोर्सबाट १२ करोड २० लाख अमेरिकी डलर आम्दानी भएको उल्लेख छ।

यता, प्रथम महिला मेलानिया ट्रम्पले पनि गत वर्ष करिब १ करोड ७ लाख अमेरिकी डलर आम्दानी गरेकी छन्।

उनको जीवनमा आधारित वृत्तचित्रको लाइसेन्स उपलब्ध गराएबापत उक्त रकम प्राप्त भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

उता ४ सचिव अभाव, यता ६ सचिवलाई जिम्मेवारी छैन

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य मंगलबार रातिदेखि अनिवार्य अवकाशमा गएपछि सचिवको दरबन्दी रहेका चार सरकारी निकाय सचिवविहीन भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरणअनुसार हाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, नेपाल ट्रस्टको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय र न्याय परिषद् सचिवालयमा सचिवको पद रिक्त रहेको छ।

यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भने ६ सचिवलाई कुनै जिम्मेवारी नदिई अतिरिक्त समूह (जगेडा) मा राखिएको छ। गत जेठ २२ गते बसेको मन्त्रिपरिषद् बैठकले डा. गोविन्द शर्मा, डा. डिल्लीराम शर्मा, लोकनाथ पौड्याल, डा. कृष्णहरि पुष्कर, हरिप्रसाद मैनाली र डुण्डुराज घिमिरेलाई जगेडामा राख्ने निर्णय गरेको थियो।

जगेडामा रहेका सचिवमध्ये डुण्डुराज घिमिरे भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बनमा छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कर छुटसम्बन्धी अनियमिततामा संलग्न रहेको आरोपमा आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

बाँकी पाँच सचिवलाई भने हालसम्म कुनै मन्त्रालय वा निकायको जिम्मेवारी नदिइएको अवस्था छ। एकातिर चार महत्वपूर्ण सरकारी निकाय सचिवविहीन छन् भने अर्कोतिर प्रधानमन्त्री कार्यालयमै सचिवहरू जिम्मेवारीविहीन रहनुले प्रशासनिक व्यवस्थापनमाथि प्रश्न उठ्न थालेको छ।

चितवनमा बालेन बसेको रिसोर्ट रूमको नामै फेरियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बसेको चितवनको एक रिसोर्टले उनले प्रयोग गरेको कोठालाई स्थायी रूपमा ‘प्रधानमन्त्री कक्ष’ नाम दिएको छ।

चितवनको कालिका नगरपालिका-९, शक्तिखोरस्थित लटौली सेन्चुरी रिसोर्टले प्रधानमन्त्री शाह सपरिवार बसेको भिल्ला ब्लकको कोठामा ‘‘प्राइम मिनिस्टर रुम’ लेखिएको विशेष नामफलक राखेको हो।

रिसोर्ट व्यवस्थापनले देशको कार्यकारी प्रमुखको पहिलो बसाइलाई स्मरणीय बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको जनाएको छ।

रिसोर्टका व्यवस्थापकका अनुसार नामकरणपछि उक्त कोठा आगन्तुकहरूको विशेष आकर्षण बनेको छ। विशेषगरी प्रधानमन्त्री बालेनका समर्थक तथा अन्य पर्यटकहरूले सोही कोठामा बस्न अग्रिम बुकिङ गर्न थालेका छन्। कतिपय आगन्तुकले कोठाबाहिर तस्बिर खिच्ने क्रमसमेत बढेको रिसोर्टले जनाएको छ।

प्रधानमन्त्रीको बसाइसँगै रिसोर्ट सामाजिक सञ्जालमा पनि चर्चाको विषय बनेको छ। समर्थकहरूले यसलाई बालेनप्रतिको जनआस्था र लोकप्रियताको प्रतीकका रूपमा व्याख्या गरेका छन् भने केहीले रिसोर्टले आफ्नो प्रचार-प्रसार र ब्रान्ड प्रवर्द्धनका लागि अपनाएको व्यावसायिक रणनीति भएको टिप्पणी गरेका छन्।

महाधिवेशन अवधिभर प्रधानमन्त्री र उनको सचिवालयको सुरक्षाका लागि रिसोर्टका १६ भन्दा बढी कोठा चार दिनसम्म आरक्षित गरिएको थियो।

सोही अवधिमा प्रधानमन्त्री शाहले चितवनका स्थानीय नागरिक, उद्यमी तथा विभिन्न समूहसँग भेटघाट र अनौपचारिक संवादसमेत गरेका थिए।

बँदेल धपाउन श्रीमानले थापेको पासोमा परेर श्रीमतीको मृत्यु

काठमाडौं। गुल्मीमा जङ्गली जनावर धपाउन बारीमा थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ।

घटनापछि प्रहरीले मृतकका श्रीमान्लाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार धुर्कोट गाउँपालिका-५ मन्टारीकी ६० वर्षीया हुमकला भण्डारी गएराति करिब १:३० बजे विद्युतीय पासोमा परेर गम्भीर घाइते भएकी थिइन्।

उपचारका लागि तत्काल गुल्मी अस्पताल, तम्घास पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार मृतकका श्रीमान् भेषराज भण्डारीले आफ्नै घरबाट करिब १५० मिटर टाढा रहेको बारीमा बँदेल नियन्त्रण गर्ने उद्देश्यले विद्युत्को पोलबाट करेन्ट प्रवाह गरी विद्युतीय पासो थापेका थिए। सोही पासोमा परेपछि हुमकला भण्डारीको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले भेषराज भण्डारीलाई नियन्त्रणमा लिएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक प्रमाण संकलन गर्नुका साथै घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ग्रामीण क्षेत्रमा बँदेल तथा अन्य जङ्गली जनावरबाट बाली जोगाउन अवैध रूपमा विद्युतीय पासो थाप्ने प्रवृत्ति देखिँदै आएको छ।

यस्ता पासोले मानव जीवनसमेत जोखिममा पार्ने भएकाले सुरक्षा निकायले यसअघि पनि यस्ता कार्य नगर्न पटक-पटक आग्रह गर्दै आएको छ।

श्रावणदेखि सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग [फोटो-फिचर]

काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा सुरुङमार्ग आगामी श्रावण महिनादेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ।

सञ्चालनअघि गरिने प्राविधिक परीक्षणहरू तीव्र पारिएको छ भने सुरुङभित्र प्रयोग हुने सञ्चालन तथा मर्मतसम्भारका सवारीसाधनको परीक्षण सफलतापूर्वक सम्पन्न भएको हो।

परियोजनाका अनुसार परीक्षणका क्रममा सुरुङभित्र नियमित निरीक्षण, सरसफाइ, मर्मतसम्भार, आपत्कालीन उद्धार तथा दुर्घटना व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन र उपकरणहरूको कार्यसम्पादन मूल्याङ्कन गरिएको थियो। साथै भेन्टिलेसन प्रणाली, विद्युत् आपूर्ति, अग्नि नियन्त्रण, सञ्चार प्रणाली, सिसिटिभी निगरानी र ट्राफिक व्यवस्थापन प्रणालीको अन्तिम परीक्षण पनि जारी छ।

नागढुंगा सुरुङमार्गको निर्माण २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि सुरु भएको थियो। जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको यो परियोजनाको मुख्य निर्माण जिम्मेवारी जापानी कम्पनी हाज्मा–आन्दो कर्पोरेशनले सम्हालेको हो।

करिब २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा अधिकांश रकम जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋणमार्फत व्यवस्थापन गरिएको छ। मुख्य सुरुङको लम्बाइ करिब २.६८ किलोमिटर रहेको छ भने आपत्कालीन उद्धारका लागि समानान्तर उद्धार सुरुङ पनि निर्माण गरिएको छ। परियोजनाअन्तर्गत पहुँच सडक, पुल, फ्लाइओभर तथा अन्य सहायक संरचनाहरू पनि तयार भइसकेका छन्।

निर्माण कार्य कोभिड–१९ महामारी, जग्गा अधिग्रहण, प्राविधिक जटिलता तथा अन्य व्यवस्थापकीय कारणले अपेक्षाभन्दा केही ढिला भए पनि अहिले अधिकांश काम सम्पन्न भइसकेको छ। सञ्चालनअघि अन्तिम सुरक्षा परीक्षण र प्राविधिक प्रमाणीकरणको काम भइरहेको छ।

सुरुङमार्ग सञ्चालनमा आएपछि सुरुवाती चरणमा तोकिएका मापदण्ड पूरा गर्ने सवारीसाधनलाई मात्रै प्रवेश दिइनेछ। सुरुङभित्र गति सीमा, लेन अनुशासन, सवारीबीचको दूरी तथा अन्य सुरक्षा मापदण्डको कडाइका साथ पालना गराइनेछ। सम्पूर्ण सञ्चालन तथा निगरानी अत्याधुनिक नियन्त्रण केन्द्रबाट हुने व्यवस्था मिलाइएको छ।

नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा प्रवेश गर्ने र बाहिरिने सवारीसाधनको आवागमन थप सहज हुने अपेक्षा छ।

विशेषगरी नागढुंगा सडकखण्डमा वर्षौंदेखि हुने ट्राफिक जाम घट्नुका साथै यात्राको समय, इन्धन खपत र ढुवानी लागतमा उल्लेखनीय कमी आउने विश्वास गरिएको छ।

अन्तत: यसरी अन्त्य भयो राधा-कृष्णको प्रेमकथा

भगवान श्रीकृष्ण र राधाको प्रेम हिन्दू परम्परामा आध्यात्मिक प्रेम, समर्पण र भक्तिको सर्वोच्च प्रतीकका रूपमा हेर्ने गरिन्छ । उनीहरू वैवाहिक बन्धनमा नबाँधिए पनि प्रेम र भक्ति सम्बन्धी चर्चा हुँदा राधा-कृष्णको नाम सधैं सँगै लिइन्छ।

विभिन्न पौराणिक ग्रन्थ तथा लोककथाहरूमा राधा-कृष्णका अनेक प्रसंग पाइन्छन्। विशेषगरी ‘गर्ग संहिता’ लगायतका ग्रन्थमा उनीहरूको प्रेम, भेटघाट र लीलाका प्रसंग विस्तृत रूपमा वर्णन गरिएको छ। यिनै कथाले चलचित्र, टेलिभिजन शृंखला र धार्मिक प्रस्तुतिहरूमा पनि विशेष स्थान पाएका छन्।

पौराणिक कथाअनुसार भगवान श्रीकृष्णले राधालाई पुनः फर्केर आउने वाचा गर्दै वृन्दावन छोडेर मथुराको यात्रा गरेका थिए। त्यहाँ पुगेर उनले आफ्ना मामा कंसको वध गरे र पछि द्वारका गए। कृष्ण वृन्दावन छोडेपछि राधासँगको प्रत्यक्ष भेटघाटका प्रसंग क्रमशः कम हुँदै गएको विभिन्न कथाहरूमा उल्लेख छ।

राधाको विवाहसम्बन्धी कथामा भने विभिन्न पौराणिक स्रोतमा फरक-फरक विवरण पाइन्छ। ‘ब्रह्मवैवर्त पुराण’को प्रकृति खण्ड (अध्याय ४९) अनुसार राधाका माता–पिताले उनको विवाह रायण नामका एक वैश्यसँग गरिदिएको उल्लेख गरिएको छ। यद्यपि, सबै धार्मिक परम्परा वा ग्रन्थमा यही विवरण समान रूपमा स्वीकार गरिएको छैन।

लोकप्रचलित पौराणिक कथाअनुसार जीवनको उत्तरार्धमा राधाले कृष्णलाई भेट्न द्वारका जाने निर्णय गर्छिन्। त्यहाँ उनी कृष्णको दरबारमा बस्दै समय-समयमा भगवानसँग भेट्ने अवसर पाएको कथन पाइन्छ।

केही समयपछि राधाले द्वारका छोडेकी र त्यसपछि एक दिन श्रीकृष्ण पुनः उनको सामु प्रकट भएको वर्णन गरिन्छ। कृष्णले राधासँग अन्तिम इच्छा के छ भनेर सोध्दा उनले कृष्णको दिव्य बाँसुरी सुन्ने चाहना व्यक्त गरिन्।

पौराणिक विश्वासअनुसार भगवान श्रीकृष्णले राधाका लागि आफ्नो दिव्य बाँसुरी बजाए। त्यसको मधुर धुन सुन्दै राधा श्रीकृष्णमै विलीन भइन् भन्ने धार्मिक मान्यता प्रचलित छ। यस घटनालाई भौतिक प्रेमको अन्त्य नभई आत्मा र परमात्माबीचको पूर्ण एकत्वको प्रतीकका रूपमा व्याख्या गर्ने गरिन्छ।

राधा–कृष्णको प्रेमकथा ऐतिहासिक घटनाभन्दा बढी धार्मिक, दार्शनिक र आध्यात्मिक परम्परासँग जोडिएको विषय मानिन्छ।

यद्यपि उनीहरूको जीवनका विभिन्न प्रसंगबारे पुराण, सम्प्रदाय र परम्पराअनुसार फरक-फरक व्याख्या पाइन्छ।

जर्मन दूतावासको स्पष्टीकरण – ‘नेपाललाई कुनै चेतावनी दिइएको छैन’

काठमाडौं। राहदानी खरिद प्रकरणसँग जोडिएका विषयमा सार्वजनिक भएका केही समाचारप्रति जर्मनीले आधिकारिक स्पष्टीकरण दिएको छ।

काठमाडौंस्थित जर्मन दूतावासले बुधबार सूचना जारी गर्दै उक्त प्रकरणका सम्भावित परिणाम वा कारबाहीबारे नेपाललाई कुनै चेतावनी नदिएको स्पष्ट पारेको हो।

दूतावासका अनुसार राहदानी खरिद प्रकरणबारे सार्वजनिक भएका केही तथ्य गलत वा भ्रामक छन्। त्यसैले वास्तविक अवस्था स्पष्ट पार्न तीन बुँदे जानकारी सार्वजनिक गरिएको जनाएको छ।

स्पष्टीकरणमा बर्लिनस्थित नेपाली कार्यवाहक राजदूतलाई जर्मन संघीय विदेश मन्त्रालयमा छलफलका लागि आमन्त्रण गरिएको उल्लेख छ। दूतावासले यो कूटनीतिक छलफलका लागि गरिएको निमन्त्रणा भएको र स्पष्टीकरण माग्न बोलाइएको भन्ने दाबी सही नभएको जनाएको छ।

जर्मनीले कूटनीतिक अभ्यासमा ‘छलफलका लागि आमन्त्रण’ र ‘स्पष्टीकरण माग्दै बोलाउनु’ दुई फरक प्रक्रिया भएको उल्लेख गर्दै ती विषयलाई एकै रूपमा प्रस्तुत गर्नु तथ्यगत रूपमा गलत हुने जनाएको छ।

युक्रेनबाट युद्धकौशल मात्र सिक्दै छैन बेलायत

काठमाडौं । बेलायत सरकारले आफ्नो रक्षा नीतिमा विगत धेरै दशकयताकै सबैभन्दा ठूलो परिवर्तन गर्ने तयारी गरेको छ।

आधुनिक युद्धको स्वरूप तीव्र गतिमा बदलिँदै गएको निष्कर्ष निकाल्दै सरकारले परम्परागत सैन्य संरचनाभन्दा अत्याधुनिक ड्रोन, कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित हतियार प्रणाली तथा मानवरहित युद्ध उपकरणमा केन्द्रित नयाँ रक्षा रणनीति सार्वजनिक गर्ने भएको हो।

बेलायती रक्षा मन्त्रालयले तयार पारेको करिब ८० पृष्ठ लामो रणनीतिक दस्तावेज संसद्मा प्रस्तुत गर्ने तयारी भइरहेको छ। उक्त योजनाले युक्रेन–रूस युद्धबाट प्राप्त सैन्य अनुभवलाई आधार मानेर भविष्यका युद्धहरूमा कम लागतमा उच्च प्रभाव पार्न सक्ने प्रविधिलाई प्राथमिकतामा राखेको जनाएको छ।

मन्त्रालयका अनुसार आधुनिक युद्धमा महँगा ट्याङ्क, युद्धपोत र लडाकु विमानभन्दा साना, सस्ता तर अत्यन्त प्रभावकारी ड्रोनहरूले निर्णायक भूमिका खेल्न थालेकाले बेलायतले पनि आफ्नो सैन्य संरचनालाई सोहीअनुसार पुनः व्यवस्थित गर्न लागेको हो।

बेलायतको नयाँ रणनीतिको मुख्य आधार युक्रेन युद्ध बनेको छ। युक्रेनले रूसविरुद्ध हजारौँ कम लागतका आक्रमणकारी तथा निगरानी ड्रोन प्रयोग गर्दै रूसी ट्याङ्क, युद्धपोत, हवाई सुरक्षा प्रणाली र सैनिक अड्डामा उल्लेखनीय क्षति पुर्‍याएको अनुभवलाई बेलायतले भविष्यको युद्धको नमुनाका रूपमा लिएको छ।

रक्षा मन्त्रालयका अनुसार आगामी वर्षहरूमा मानव सैनिकको जोखिम घटाउँदै कृत्रिम बुद्धिमत्ता, स्वचालित प्रणाली र मानवरहित सैन्य उपकरणको प्रयोग उल्लेखनीय रूपमा विस्तार गरिनेछ। यसबाट युद्ध सञ्चालन थप छिटो, प्रभावकारी र कम खर्चिलो हुने सरकारको विश्वास छ।

नवनियुक्त रक्षामन्त्री ड्यान जार्भिसले लामो समयदेखि रोकिएको रक्षा आधुनिकीकरण कार्यक्रम अघि बढाउन थप १.५ अर्ब पाउन्ड बजेट सुनिश्चित गरेका छन्। यो रकम विशेषगरी ड्रोन विकास, स्वचालित हतियार प्रणाली, साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्तामा आधारित रक्षा प्रविधि तथा नयाँ सैन्य उपकरण खरिदमा खर्च गरिनेछ।

सरकारले रूस र इरानबाट बढ्दो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै भविष्यका सम्भावित द्वन्द्वका लागि बेलायतलाई अझ सक्षम बनाउने उद्देश्यले यो लगानी गरिएको जनाएको छ।

यसअघि रक्षा मन्त्रालयमा करिब १८ अर्ब पाउन्डको वित्तीय अभाव रहेको विषयलाई लिएर सरकारभित्र विवाद चर्किएको थियो। आवश्यक स्रोत सुनिश्चित गर्न नसकिएको भन्दै तत्कालीन रक्षा सचिव जोन हिलीले पदसमेत छाडेका थिए। त्यस घटनाले नेटोभित्र बेलायतको दीर्घकालीन रक्षा प्रतिबद्धतामाथि समेत प्रश्न उठाएको थियो।

तर रक्षामन्त्री जार्भिसले अर्थमन्त्री रेचल रिभ्ससँग सहमति जुटाएर अतिरिक्त बजेट सुनिश्चित गरेपछि रक्षा मन्त्रालयको अनुमानित घाटा १८ अर्ब पाउन्डबाट घटेर करिब ३ अर्ब पाउन्डमा झरेको सरकारी स्रोतले जनाएको छ। यससँगै करिब १५ अर्ब पाउन्ड बराबरको वित्तीय स्रोत व्यवस्थापन भएको बताइएको छ।

सरकारले आगामी चार वर्षका लागि ड्रोन खरिद, अनुसन्धान तथा विकासमा छुट्याइएको बजेट ४ अर्ब पाउन्डबाट बढाएर ५ अर्ब पाउन्ड पुर्‍याएको छ। यो रकम विभिन्न प्रकारका निगरानी ड्रोन, आक्रमणकारी ड्रोन, समुद्री ड्रोन तथा स्वचालित रक्षा प्रणाली विकासमा खर्च हुनेछ।

रक्षा मन्त्रालयका अनुसार बेलायतले आफ्नै स्वदेशी रक्षा उद्योगलाई समेत यस योजनामा प्राथमिकता दिनेछ। यसले नयाँ प्रविधिको विकाससँगै हजारौँ दक्ष जनशक्ति आवश्यक पर्ने भएकाले रोजगारी सिर्जनामा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

नयाँ रणनीतिअन्तर्गत रोयल मरिन कमान्डोका लागि मानवरहित स्पीडबोट खरिद गरिनेछ। यी समुद्री ड्रोनहरूले जोखिमपूर्ण क्षेत्रमा सैनिकको प्रत्यक्ष उपस्थितिविना निगरानी, गस्ती तथा विशेष सैन्य अभियान सञ्चालन गर्न सक्नेछन्।

सरकारी योजनाअनुसार अमेरिका र इरानबीच दीर्घकालीन शान्ति कायम भएमा यिनलाई होर्मुज जलडमरूमध्य क्षेत्रमा समुद्री सुरक्षाका लागि परिचालन गरिनेछ। विश्वको महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने होर्मुज क्षेत्रमा सम्भावित सुरक्षा चुनौतीको निगरानी गर्न यी उपकरण प्रभावकारी हुने विश्वास गरिएको छ।

रोयल नेभीका लागि ६ वटा नयाँ हाइब्रिड हवाई रक्षा फ्रिगेट निर्माण गर्ने योजना पनि सार्वजनिक गरिएको छ। यी आधुनिक युद्धपोतले हावा, समुद्र र समुद्रमुनि सञ्चालन हुने विभिन्न मानवरहित प्रणालीसँग एकीकृत रूपमा काम गर्न सक्नेछन्।

रक्षा मन्त्रालयका अनुसार सन् २०३० को दशकको मध्यसम्ममा यी युद्धपोतले हाल सञ्चालनमा रहेका ‘टाइप–४५’ डिस्ट्रोयरलाई प्रतिस्थापन गर्नेछन्। नयाँ फ्रिगेटहरूमा मिसाइल प्रतिरक्षा, साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता तथा ड्रोन नियन्त्रण प्रणाली जडान गरिनेछ।

रक्षा क्षेत्रमा ठूलो लगानी गर्न सरकारले अन्य मन्त्रालयहरूको पुँजीगत बजेट कम्तीमा १ प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ। यस निर्णयलाई लिएर ह्वाइटहलभित्र मतभेद देखिए पनि सरकारले राष्ट्रिय सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर यस्तो कदम चालिएको जनाएको छ।

निवर्तमान प्रधानमन्त्री कियर स्टारमरले रक्षा उद्योगसँग सम्बन्धित कार्यक्रममा नयाँ योजनाको औपचारिक घोषणा गर्दै यसले बेलायतको राष्ट्रिय सुरक्षा मात्र नभई आर्थिक विकास, औद्योगिक उत्पादन र रोजगारीमा समेत ठूलो योगदान पुर्‍याउने बताएका छन्।

उनले सन् २०३५ सम्म बेलायतको रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३.५ प्रतिशत पुर्‍याउने लक्ष्य सार्वजनिक गरेका छन्। हाल रक्षा खर्च करिब २.६ प्रतिशत रहेको अनुमान गरिएको छ। लक्ष्य पूरा गर्न वार्षिक रूपमा झन्डै ३० अर्ब पाउन्ड बराबर अतिरिक्त लगानी आवश्यक पर्ने सरकारी अनुमान छ।

नेटोका महासचिव मार्क रुटले बेलायत भ्रमणका क्रममा स्टारमरसँग भेट गर्दै बेलायतले आफ्नो रक्षा प्रतिबद्धता पूरा गर्ने विश्वास व्यक्त गरेका छन्। उनले युरोपमा बढ्दो सुरक्षा चुनौतीका बीच बेलायतको नयाँ रणनीतिले नेटो गठबन्धनलाई अझ बलियो बनाउने बताएका छन्।

यद्यपि बेलायती सेनाका केही पूर्व प्रमुखहरूले प्रस्तावित बजेट अझै पर्याप्त नभएको टिप्पणी गरेका छन्। उनीहरूका अनुसार रूस, चीन तथा इरानजस्ता मुलुकबाट बढ्दो सुरक्षा चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्न अझ ठूलो र दीर्घकालीन लगानी आवश्यक पर्नेछ।

विश्लेषकहरूका अनुसार बेलायतको यो नयाँ रक्षा रणनीति परम्परागत सैन्य शक्तिबाट कृत्रिम बुद्धिमत्ता, ड्रोन प्रविधि र स्वचालित युद्ध प्रणालीतर्फको ऐतिहासिक परिवर्तनका रूपमा हेरिएको छ।

आफ्नै साथीले नक्कली प्रहरी बनाएर लुट्न पठाएपछि…

काठमाडौं । काठमाडौंको वनस्थली क्षेत्रमा ‘हामी प्रहरी हौँ’ भन्दै एक व्यक्तिलाई नियन्त्रणमा लिएर हतकडी लगाई १० लाख ९५ हजार रुपैयाँ नगद, मोबाइल फोन र बैंकका चेक लुटपाट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले चार जनालाई पक्राउ गरेको छ। घटनामा पीडितकै चिनजानका व्यक्ति समेत संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–८ खतिवडा चोकका ४३ वर्षीय धनबहादुर मोक्तान जग्गा खरिद गर्ने उद्देश्यले काठमाडौं आएका थिए। उनी काठमाडौं बसाइका क्रममा आफ्ना चिनजानका साथी शेरबहादुर मोक्तानको वनस्थलीस्थित डेरामा बसिरहेका थिए।

गत असार ९ गते साँझ करिब ७ बजेतिर पाँच-छ जनाको समूह त्यहाँ पुगेको थियो। उनीहरूले आफूहरू प्रहरी भएको परिचय दिँदै धनबहादुरलाई नियन्त्रणमा लिएका थिए। त्यसपछि उनलाई हतकडी लगाएर डर र त्रास देखाउँदै साथमा रहेको १० लाख ९५ हजार रुपैयाँ नगद, मोबाइल फोन तथा सिद्धार्थ बैंकका खाली चेकहरू लुटेर फरार भएको प्रहरीले जनाएको छ।

घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंले विशेष टोली परिचालन गरी अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा असार १४ गते काठमाडौंका विभिन्न स्थानमा छापा मारेर घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भई हाल काठमाडौंको धापासी बस्दै आएका ४३ वर्षीय रामशरण दमाई, काठमाडौंको टोखा नगरपालिका–१ निवासी ३८ वर्षीय सविन खवास, पर्साको ठोरी गाउँपालिका–४ घर भई हाल गौरीघाट बस्दै आएकी ४३ वर्षीया लक्ष्मी गोले तथा सिन्धुलीको घ्याङलेख गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थलीमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर मोक्तान रहेका छन्।

प्रहरीका अनुसार शेरबहादुर मोक्तान पीडित धनबहादुरका चिनजानका साथी हुन्। अनुसन्धानबाट उनले नै पीडितलाई काठमाडौं बोलाउने, बस्ने व्यवस्था मिलाउने र त्यसपछि लुटपाटको योजनामा सहयोग गरेको आशंका गरिएको छ। घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको देखिएकाले फरार आरोपितहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट लुटिएको रकममध्ये एक हजार दरका दुई सय थान नोट अर्थात् दुई लाख रुपैयाँ बरामद गरेको छ। लुटिएको बाँकी रकम र अन्य सामग्रीको खोजी भइरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका चारै जनाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइएको छ। उनीहरूमाथि प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको छ।

प्रहरीले घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको पहिचान भइसकेको जनाएको छ। उनीहरूको खोजी तथा लुटिएको सम्पूर्ण रकम बरामद गर्ने प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ।

डिजेल, पेट्रोल र ग्यासको मूल्य कति घट्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय कटौती गरेको छ।

निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार नयाँ मूल्यसूची बुधबार बिहानदेखि देशभर लागू भएको छ।

निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले कम गरिएको छ। यससँगै काठमाडौं, पोखरा र दिपायललगायत तेस्रो वर्गका क्षेत्रमा पेट्रोलको नयाँ खुद्रा मूल्य प्रतिलिटर १९७ रुपैयाँ कायम भएको छ। त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर १९५ रुपैयाँमा उपलब्ध हुनेछन्।

खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिलिन्डर १०० रुपैयाँले घटाइएको छ। अब १४.२ केजी क्षमताको एक सिलिन्डर एलपी ग्यास २ हजार ६० रुपैयाँमा उपलब्ध हुनेछ। यसअघि यसको मूल्य २ हजार १६० रुपैयाँ थियो।

त्यसैगरी, आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएर २२९ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य भने प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले घटाइएको निगमले जनाएको छ।

नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोल, डिजेल तथा हवाई इन्धनको लागत घटेर आएकाले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको हो।

निगमले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तन र आईओसीबाट प्राप्त खरिद मूल्यका आधारमा समय–समयमा पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गर्दै आएको छ।

सभापति रविले विधि मिच्दा अन्यायमा सांसद साेम शर्मा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई विधि, विधान र सुशासनका पक्षधर नेताका रूपमा चिनिन्छ। अन्यायमा परेकाको पक्षमा बोल्ने नेताका रूपमा पनि उनले छवि बनाएका छन्।

तर, अहिले उनीबाटै पार्टीका एक जना सांसद अन्यायमा परेका छन् । उनी हुन्- सा‌ंसद साेम शर्मा ।  निर्वाचित भए पनि शर्मालाई सभापति रविले केन्द्रीय सदस्य बनाएनन् । यससँगै पार्टीमा विधि र विधान कार्यान्वयनप्रतिकाे उनकाे प्रतिबद्धतामा प्रश्‍न उठेकाे छ ।

सांसद शर्माले नेपालवान एचडीसँग आफू अन्यायमा परेको गुनासो गरेका छन्। यद्यपि, सभापति लामिछानेले न्याय दिने विश्‍वास भने उनले मारेका छैनन् ।

उनले भने, ‘मलाई अन्याय भयो । म चौथोमा थिएँ । जेनजीको मुद्दा जनताका मुद्दा संस्थागत गर्न मेरो उम्मेदवारी थियो । मलाई थाहा छैन, किन यस्तो भयो । मलाई विश्वास छ, पक्कै पनि नेतृत्वले पुनर्विचार गर्छ होला र मैले न्याय पाउँछु ।’

यही असारकाे ७ गतेदेखि झण्डै एक साता भएकाे महाधिवेशनबाट गण्डकी भूगोलतर्फ शर्मा  केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । तर, बिना जानकारी र बिना कारण केन्द्रीय सदस्यबाट आफूलाई हटाएकाे भन्दै उनले पार्टीकाे निर्वाचन आयाेगमा निवेदन दिएका छन् ।

शर्माले आफूभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारलाई केन्द्रीय सदस्य बनाइएको दाबी गरेका छन्। यसले रास्वपाले उठाउँदै आएको विधि, विधान र सुशासनको एजेन्डामाथि नै प्रश्न उठाएको उनको भनाइ छ।

जेन-जी अभियानका अग्रपंक्तिका नेता मानिने शर्मा नयाँ पुस्ताको एजेन्डा उठाउने प्रभावशाली नेतामध्ये एक हुन्।

महाधिवेशनमा उनले गण्डकी भूगोलतर्फ ९९३ मत प्राप्त गरेका थिए। निर्वाचन समितिले मतपरिणामकाे आधारमा उनको जित घोषणा गरेको पनि उनको भनाइ छ।

कुनै पूर्वजानकारी आफ्नो नाम हटाइएको उनको गुनासो छ। सञ्चार माध्यमबाट मात्रै यसबारे जानकारी पाएको उनले उल्लेख गरेका छन्।

शर्माले रास्वपाको विधानको दफा २२(४) अनुसार आफू निर्वाचित भएको दाबी गरेका छन्। आफू चौथो उच्च मत प्राप्त उम्मेदवार भएकाले आफ्नो निर्वाचित हैसियतमा कुनै विवाद नरहेको उनको जिकिर छ।

शर्माले आफूलाई निर्वाचित केन्द्रीय सदस्यको हैसियतमा यथावत् कायम गर्न माग गरेका छन्। निर्णयको कानुनी तथा तथ्यगत आधार सार्वजनिक गर्न पनि आग्रह गरेका छन्। आवश्यक स्पष्टीकरण उपलब्ध गराउन उनले माग गरेका छन्।

रास्वपाकाे निर्वाचन आयाेगका अनुसार पवित्रा थापाले १०७६ मत, मनिष खनालले १०५२ मत, सागर भुसालले १०४० मत, साेम शर्माले ९९३ मत, पूजा बास्ताेलाले ९१३ मत र विष्णुकमारी गुरुङले ८०० मत पाएकी थिइन् ।

तर निर्वाचित भएका शर्मा हटाइए, पूजा र विष्णुकाे नाम केन्द्रीय सदस्यमा अँटाएका छन् । यसले रास्वपा सभापति लामिछानेकाे विधि र प्रक्रियाकाे प्रतिबद्धता कमजाेर देखिएकाे छ ।

यस्ताे छ साेम शर्माकाे निवेदन

कांग्रेससहितको बृहत् मोर्चाको संकेत गर्दैछन् ओली?

काठमाडौं। नेपालका वामपन्थी दलहरूबीच पुनः एकताको बहस चर्किरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने फरक राजनीतिक दिशा संकेत गरेका छन्। 

कम्युनिष्ट शक्तिहरूबीच संगठनात्मक एकीकरणभन्दा साझा एजेन्डामा आधारित सहकार्यलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै उनले आवश्यकता परे नेपाली कांग्रेससहित लोकतान्त्रिक शक्तिसँग पनि कार्यगत सहकार्य हुन सक्ने संकेत दिएका हुन्।

पछिल्ला दिनहरूमा वाम नेताहरूले विभाजित कम्युनिष्ट आन्दोलनलाई पुनः एउटै धारमा ल्याउनुपर्ने विषयलाई प्रमुख राजनीतिक एजेन्डा बनाइरहेका छन्। विशेषगरी पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालले वाम एकता नै वर्तमान राजनीतिक चुनौतीको समाधान हुन सक्ने तर्क गर्दै आएका छन्।

यही बहसबीच एमाले अध्यक्ष ओलीले भने आफ्नो पार्टीको रणनीति फरक रहेको स्पष्ट पारेका छन्। बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रममा उनले एमाले कुनै पनि राजनीतिक दलसँग संस्थागत रूपमा एकीकरण नगर्ने बताए। उनले भने, ‘विचार, नीति र कार्यक्रम स्वीकार गर्ने व्यक्ति वा समूहलाई पार्टीमा स्वागत गरिनेछ, तर पार्टी विलयको अभ्यास दोहोरिने छैन।’

ओलीको उक्त अभिव्यक्तिलाई एमालेले विगतका एकीकरणका अनुभवबाट नयाँ निष्कर्ष निकालेको संकेतका रूपमा पनि हेरिएको छ। पछिल्ला वर्षहरूमा भएका विभिन्न कम्युनिष्ट एकताले अपेक्षित राजनीतिक स्थायित्व दिन नसकेको निष्कर्ष एमाले नेतृत्वले निकालेको समेत देखिन्छ।

यद्यपि, उनले राजनीतिक सहकार्यको ढोका भने बन्द गरेका छैनन्। संविधानको रक्षा, लोकतान्त्रिक व्यवस्था, राष्ट्रिय हित र देशका साझा सरोकारका विषयमा विचार मिल्ने शक्तिहरूसँग सहकार्य गर्न सकिने उनको भनाइले कांग्रेससँग समेत कार्यगत सम्बन्ध बन्न सक्ने सम्भावनालाई खुला राखेको छ। उनले कांग्रेस सहितको विशाल मोर्चाको तयारी गर्न खोजेको देखिन्छ।

यसले नेपाली राजनीतिक वृत्तमा नयाँ बहस सुरु गरेको छ। एउटै विचारधाराका कम्युनिष्ट दलहरूबीच एकता अस्वीकार गर्ने एमालेले वैचारिक रूपमा फरक कांग्रेससँग भने मुद्दा केन्द्रित सहकार्यको सम्भावना खुला राख्नु रणनीतिक परिवर्तनको संकेतका रूपमा राजनीतिक वृत्तमा व्याख्या हुन थालेको छ।

नेपालको राजनीतिक इतिहासमा पनि फरक विचारधाराका दलहरूले राष्ट्रिय आवश्यकता अनुसार सहकार्य गरेका उदाहरण छन्। प्रजातान्त्रिक आन्दोलन, लोकतन्त्र पुनःस्थापना तथा संविधान निर्माणका विभिन्न चरणमा कांग्रेस र वाम दलहरू एउटै मोर्चामा उभिएका थिए। हुन त आवश्यकता अनुसार हुने कार्यगत सहकार्य नेपाली राजनीतिका लागि नयाँ अभ्यास भने कदापि होइन।

यद्यपि वर्तमान राजनीतिक परिवेश फरक भएकाले यस्तो सहकार्य कुन विषयमा, कति प्रभावकारी र कति दीर्घकालीन हुन्छ भन्ने प्रश्न भने यथावत् नै छ। वर्तमान सत्ता समीकरण, दलहरूको राजनीतिक प्राथमिकता र आगामी निर्वाचनको तयारीले पनि त्यसको दिशा निर्धारण गर्नेछ।

ओलीको पछिल्लो धारणा हेर्दा एमाले तत्काल वाम एकीकरणको बाटोमा जानेभन्दा आफ्नै संगठनलाई बलियो बनाउने, नयाँ राजनीतिक आधार विस्तार गर्ने र आवश्यकता अनुसार फरक विचारधाराका शक्तिसँग समेत साझा मुद्दामा सहकार्य गर्ने रणनीतिमा अघि बढ्न खोजिरहेको सन्देश स्पष्ट देखिन्छ।

यसले वाम आन्दोलनभित्रको एकताको बहसभन्दा पनि आगामी राजनीतिक समीकरण कसरी बन्छ भन्ने विषयलाई थप चासोको केन्द्रमा ल्याएको छ।

बालेन गुट र रवि गुटको लडाइँ

काठमाडाैं। झट्ट हेर्दा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेको सम्बन्ध ठिकठाक देखिन्छ । तर भुसको आगो जसरी यी दुई नेताबीच शक्ति सङ्घर्ष चुलिएको छ । रवि र बालेन समूहबीच आपसी प्रतिष्पर्धा यति बढेको छ कि विवाद र गुटको लडाइँ छताछुल्ल हुन थालेको छ ।

हालै सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनदेखि मन्त्रिपरिषद्का गतिविधि, प्रधानमन्त्री सचिवालय र परराष्ट्र मन्त्रालयबीच देखिएका मतभिन्नता तथा राहदानी खरिद प्रक्रियासँग जोडिएका घटनाक्रमले सरकारभित्र दुई फरक धार सक्रिय रहेको चर्चा राजनीतिक वृत्तमा बढाएको छ। सम्बन्धित पक्षले औपचारिक रूपमा कुनै गुटगत विवाद स्वीकार नगरे पनि पछिल्ला घटनाले सरकारभित्र आन्तरिक असहजता रहेको संकेत गरेको विश्लेषण भइरहेको छ।

सबैभन्दा पहिले रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमै दुई पक्षबीच मतभिन्नता सतहमा आएको चर्चा भयो। तीन दिनमा सक्ने भनिएको महाधिवेशन अन्ततः छ दिनसम्म लम्बिएको थियो। महाधिवेशनमा पद बाँडफाँटदेखि नीति निर्माणसम्म सहमति जुटाउन लामो समय लागेको बताइन्छ।

महाधिवेशनमा सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको अर्थ–राजनीतिक प्रतिवेदनमा समेत नीतिगत मतभिन्नता देखिएको थियो। लामिछानेले प्रत्यक्ष निर्वाचित कार्यकारी नेतृत्वको पक्षमा धारणा राख्दा वाग्लेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भविष्यमा प्रदेश सभा खारेजी, राष्ट्रिय सभालाई गैरदलीय विशेषज्ञ सभा बनाउने तथा स्थानीय तहलाई निर्दलीय बनाउने प्रस्ताव अघि सारेका थिए। यी फरक प्रस्तावलाई महाधिवेशनभित्र देखिएको शक्ति सन्तुलनसँग जोडेर पनि हेरियो।

महाधिवेशनपछि सरकार सञ्चालनका क्रममा पनि प्रधानमन्त्री सचिवालय र विभिन्न मन्त्रालयबीच फरक धारणा सार्वजनिक हुन थाले। त्यसको सबैभन्दा चर्चित उदाहरण राहदानी खरिद प्रक्रिया बन्यो।

ई-पासपोर्ट छपाइका लागि जर्मन कम्पनीसँग भएको ठेक्का निरन्तरता दिने वा रद्द गर्ने विषयमा सरकारभित्र दुई फरक अडान देखिएको स्रोतहरूको दाबी छ। परराष्ट्रमन्त्री शिशिर खनालले ठेक्का अवधि समाप्त नभएसम्म सम्बन्धित कम्पनीलाई काम गर्ने अवसर दिनुपर्ने धारणा राख्दै आएका छन्। उनका अनुसार सम्झौता समयअघि नै तोडिए नेपाल अन्तर्राष्ट्रिय आर्बिट्रेसनमा जानुपर्ने अवस्था आउन सक्छ, जसबाट मुलुकले आर्थिक तथा कूटनीतिक दुवै क्षति बेहोर्नुपर्ने जोखिम रहन्छ।

यता प्रधानमन्त्री सचिवालय भने कम्पनीले समयमै राहदानी आपूर्ति गर्न नसकेको निष्कर्षमा पुग्दै ठेक्का तत्काल रद्द गर्नुपर्ने पक्षमा रहेको चर्चा छ। स्रोतका अनुसार प्रधानमन्त्री सचिवालयका एक सदस्यले राहदानी विभागमा फोन गरी ठेक्का रद्द गर्न दबाब दिएको विषय विभागका अधिकारीहरूले मन्त्रालयमा जानकारी गराएका थिए। त्यसपछि यो विषय सामान्य प्रशासनिक निर्णयको सीमाभन्दा माथि उठेर राजनीतिक बहसको विषय बन्यो।

राहदानी प्रकरणले सरकारभित्र निर्णय प्रक्रियाको अधिकार कससँग रहने भन्ने प्रश्न पनि उठाएको छ। मन्त्रालयले आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा निर्णय गर्ने कि प्रधानमन्त्री सचिवालयले प्रत्यक्ष हस्तक्षेप गर्ने भन्ने विषयमा प्रशासनिक वृत्तमा समेत बहस भएको छ।

यहीबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रक्रियामा अनियमितता भएको आरोपमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। त्यसपछि ठेक्का तत्काल रद्द गर्नुपर्ने पक्षले आफ्नो अडानलाई थप बलियो बनाउने प्रयास गरेको देखिएको छ भने अर्को पक्षले अदालतमा मुद्दा दर्ता हुँदैमा सम्झौता स्वतः समाप्त नहुने कानुनी आधार प्रस्तुत गरिरहेको छ।

यसअघि प्रधानमन्त्री बालेन शाहले संसद्मा सीमा सम्बन्धी दिएको अभिव्यक्तिपछि पनि सरकारभित्र फरक धारणा देखिएको थियो। प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले छुट्टै धारणा सार्वजनिक गर्दै उक्त अभिव्यक्ति सीमा व्यवस्थापनसँग सम्बन्धित सन्दर्भमा बुझ्नुपर्ने जनाएको थियो। यसलाई पनि प्रधानमन्त्री सचिवालय र मन्त्रालयबीचको समन्वय अभावको अर्को उदाहरणका रूपमा चर्चा गरिएको थियो।

त्यसपछि रास्वपा सभापति रवि लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा गए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस. जयशंकरलगायत उच्च नेतृत्वसँग भेटवार्ता गरेका थिए। उक्त भ्रमणमा सहभागी टोलीमा रवि लामिछाने निकट मानिएका नेताहरू मात्र सहभागी भएको चर्चा पनि राजनीतिक वृत्तमा भयो।

लगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत र चीन भ्रमणमा निस्किए। यी भ्रमणका क्रममा पनि सरकारभित्र प्रतिनिधित्व र समन्वयको विषयमा विभिन्न टिप्पणी सार्वजनिक भए। कतिपयले यसलाई सरकारभित्र फरक शक्ति केन्द्र सक्रिय रहेको संकेतका रूपमा व्याख्या गरेका छन्।

यसरी महाधिवेशनदेखि राहदानी खरिद प्रक्रिया, प्रधानमन्त्री सचिवालय र मन्त्रालयबीच देखिएका मतभिन्नता, सीमा सम्बन्धी अभिव्यक्ति तथा उच्चस्तरीय विदेश भ्रमणसम्मका घटनालाई जोडेर राजनीतिक वृत्तमा सरकारभित्र शक्ति सन्तुलनको प्रतिस्पर्धा बढेको चर्चा भइरहेको छ।

यद्यपि प्रधानमन्त्री सचिवालय, रास्वपा नेतृत्व तथा सम्बन्धित मन्त्रालयले सरकारभित्र कुनै गुटगत संघर्ष रहेको विषयलाई औपचारिक रूपमा स्वीकार गरेका छैनन्। तर पछिल्ला घटनाक्रमले निर्णय प्रक्रिया, अधिकारको सीमारेखा र सरकारभित्रको समन्वयबारे भने बहसलाई तीव्र बनाएको छ।

महिला र पुरुष मृत फेला

काठमाडौं । देशका दुई फरक जिल्लामा एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

नेपाल प्रहरीका अनुसार रूपन्देहीको सियारी गाउँपालिका–४ खैरेनीडिहीस्थित दानव नदी किनारमा अन्दाजी ४० वर्षीया एक महिला मंगलबार मृत अवस्थामा भेटिएकी हुन्। उनको हालसम्म पहिचान खुल्न सकेको छैन।

त्यसैगरी पर्वतको कुश्मा नगरपालिका–१ सस्रधारास्थित कालीगण्डकी नदीमा पनि पहिचान नखुलेका एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

दुवै घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

शवको पहिचान, मृत्युको कारण तथा घटनासम्बन्धी अन्य पक्षबारे सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले अनुसन्धान अघि बढाएका छन्।

भेनेजुएला भूकम्प : भग्नावशेषमा पुरिएका मानिस कति दिनसम्म बाँच्न सक्छन्?

काठमाडौं। हालै भेनेजुएलामा एक मिनेटको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएपछि हजारौँ संरचनामा क्षति पुगेको छ। उद्धार टोलीहरू भग्नावशेषमा फसेकाहरूको खोजीमा खटिएका छन्।

यस्तो अवस्थामा मानिसको जीवन कति समयसम्म जोगिन सक्छ भन्ने विषय फेरि चर्चामा आएको छ। ‘भग्नावशेषमा पुरिएका मानिस कति दिनसम्म बाँच्न सक्छन्?’

विशेषज्ञहरूका अनुसार यसको कुनै निश्चित उत्तर छैन। जीवित रहने समय व्यक्तिको शारीरिक अवस्था, लागेको चोट, सास फेर्न हावा उपलब्ध भए-नभएको, पानीको पहुँच, मौसम र मानसिक अवस्थाजस्ता धेरै कुराले निर्धारण गर्छ।

उद्धारकर्मीहरूका अनुसार भूकम्पपछिको पहिलो २४ घण्टा सबैभन्दा महत्वपूर्ण मानिन्छ। यही अवधिमा सबैभन्दा धेरै मानिस जीवित उद्धार हुने गरेका छन्। तर इतिहासले केही यस्ता उदाहरण पनि देखाएको छ, जहाँ मानिसहरू एक साताभन्दा धेरै समयपछि पनि जीवित फेला परेका छन्।

यही कारण संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय उद्धार निकायहरूले सामान्यतया पाँचदेखि सात दिनसम्म सक्रिय खोज तथा उद्धार अभियान सञ्चालन गर्छन्। यदि त्यस अवधिमा पनि जीवित भेटिने सम्भावना देखिएमा अभियान अझ लम्ब्याइन्छ।

भग्नावशेषभित्र बाँच्ने सम्भावना बढाउने सबैभन्दा महत्वपूर्ण तत्व अक्सिजन हो। भवन भत्किँदा शरीर वरिपरि सानो खाली ठाउँ बनेको छ र त्यहाँबाट हावा आइरहेको छ भने मानिस लामो समयसम्म बाँच्न सक्छ। भूकम्पका बेला बलियो टेबल वा फर्निचरमुनि बसेर टाउको जोगाउने अभ्यासलाई प्रभावकारी मानिन्छ। यसले शरीर वरिपरि सुरक्षित खाली स्थान बन्ने सम्भावना बढाउँछ।

पानी पनि जीवन रक्षाको अर्को आधार हो। सामान्य अवस्थामा मानिस पानीबिना तीनदेखि सात दिनसम्म मात्र बाँच्न सक्छ। भग्नावशेषमा अत्यधिक गर्मी भए शरीरबाट पानी छिटो गुम्ने भएकाले निर्जलीकरणको जोखिम बढ्छ। चिसो मौसममा भने शरीरको तापक्रम घटेर हाइपोथर्मिया हुन सक्छ। त्यसैले मौसमले पनि जीवित रहने समयलाई प्रत्यक्ष प्रभाव पार्छ।

यदि टाउको, छाती वा मेरुदण्डमा गम्भीर चोट लागेको छ भने बाँच्ने सम्भावना निकै घट्छ। अत्यधिक रक्तस्राव, भित्री अङ्गमा चोट वा धेरै हड्डी भाँचिएको अवस्थामा तत्काल उपचार नपाए अवस्था जटिल बन्छ।

अर्कोतर्फ, उद्धारपछि पनि जोखिम समाप्त हुँदैन। लामो समयसम्म भारी संरचनाले शरीर च्यापिँदा हुने ‘क्रस सिन्ड्रोम’का कारण मांसपेशीबाट निस्किएका हानिकारक पदार्थ रगतमा मिसिँदा मिर्गौला तथा अन्य अङ्गमा गम्भीर असर पर्न सक्छ।

विशेषज्ञहरूले मानसिक अवस्थालाई पनि उत्तिकै महत्वपूर्ण मान्छन्। अत्यधिक आत्तिँदा मानिसले धेरै अक्सिजन प्रयोग गर्छ र शरीरको ऊर्जा छिटो सकिन्छ। त्यसैले सम्भव भएसम्म शान्त रहनु, अनावश्यक रूपमा शरीर नचलाउनु र उद्धार हुने आशा कायम राख्नु जीवन जोगाउने महत्वपूर्ण उपाय मानिन्छ।

विश्वका विभिन्न विपत्तिले आश्चर्यजनक उद्धारका उदाहरण पनि दिएका छन्। सन् १९९५ मा दक्षिण कोरियामा एक व्यक्ति १० दिनपछि जीवित निकालिएका थिए। सन् २०१३ मा बङ्गलादेशको राना प्लाजा भवन दुर्घटनामा एक महिला १७ दिनपछि जीवित भेटिएकी थिइन्।

सन् २०१० को हैटी भूकम्पमा एक व्यक्ति १२ दिनपछि र अर्का एक २७ दिनपछि जीवित उद्धार भएका थिए। त्यस्तै सन् २००५ मा पाकिस्तान प्रशासित कश्मीरमा आएको भूकम्पपछि एक महिला करिब दुई महिनापछि भग्नावशेषबाट जीवित फेला परेको घटना पनि विश्वकै दुर्लभ उद्धारमध्ये एक मानिन्छ।

यदि पर्याप्त हावा उपलब्ध छ, गम्भीर चोट लागेको छैन, शरीरले केही मात्रामा पानीको आवश्यकता पूरा गर्न सकेको छ र मानसिक रूपमा धैर्य कायम छ भने मानिसले सामान्य अनुमानभन्दा धेरै दिनसम्म पनि जीवन जोगाउन सक्छ।

५१औँ दिन मनाउँदै गर्दासम्म ‘लालीबजार’ले कति कमायो ?

काठमाडौं । नेपाली फिल्म ‘लालीबजार’ले प्रदर्शनको ५१औँ दिन पूरा गरेको अवसरमा निर्माण टिमले विशेष कार्यक्रम आयोजना गर्दै सफलताको उत्सव मनाएको छ। राजधानीमा सोमबार साँझ आयोजित कार्यक्रममा कलाकार, प्राविधिक तथा चलचित्रकर्मीहरूको उपस्थितिमा केक काटेर खुसी साटिएको हो।

बक्सअफिसमा ९ करोड ३१ लाख रुपैयाँभन्दा बढीको व्यापार गर्न सफल भएको फिल्मले देशका केही चलचित्र हलमा ५१औँ दिनसम्म प्रदर्शन कायम राख्न सफल भएको निर्माण पक्षले जनाएको छ।

उत्सव कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, वरिष्ठ अभिनेत्रीहरू चैत्यदेवी सिंह, बसुन्धरा भुसाल, भुवन चन्दलगायत चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा फिल्मको सफलतामा योगदान पुर्‍याउने कलाकार तथा प्राविधिकलाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो।

रिलिजअघि वादी समुदायको विरोध र अदालतसम्म पुगेको कानुनी विवादका कारण चर्चामा रहेको ‘लालीबजार’ अन्ततः वैशाख २५ गतेबाट प्रदर्शनमा आएको थियो। प्रारम्भिक रूपमा वैशाख १८ गते प्रदर्शन गर्ने तयारी भए पनि केही प्राविधिक तथा व्यवस्थापकीय कारणले प्रदर्शन मिति सारिएको थियो।

फिल्ममा मुख्य भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का रहेकी छन्। सफलताको उत्सवका क्रममा उनले मञ्चमै नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएकी थिइन्।

यम थापाको निर्देशनमा बनेको ‘लालीबजार’का निर्माता म्याक्स दिपेश खत्री हुन्। फिल्ममा स्वस्तिमासँगै रवीन्द्रसिंह बानियाँ, प्रदीप भट्टराईलगायत कलाकारहरूको अभिनय रहेको छ।

नकआउट पुग्न सकेनन् यी १६ टोली

काठमाडौं। फिफा विश्वकप २०२६ को समूह चरण सकिएसँगै प्रतियोगिताको नकआउट चरणमा पुग्ने ३२ टोलीको अन्तिम सूची तय भएको छ।

कुल ७२ खेलको समूह चरणपछि फुटबल विश्वले यस पटक मिश्रित नतिजा, ठूला अपसेट र केही ऐतिहासिक असफलता देखेको छ।

समूह चरणमा १२ समूहमा विभाजन गरी खेलाइएको प्रतिस्पर्धाबाट प्रत्येक समूहका शीर्ष दुई टोली तथा उत्कृष्ट तेस्रो स्थानमा रहेका ८ टोलीले नकआउट चरणमा प्रवेश पाएका छन्। बाँकी १६ टोलीको यात्रा यहीँ समाप्त भएको छ।

यस संस्करणको सबैभन्दा ठूलो झट्कामध्ये एक दुई पटकका विश्व च्याम्पियन उरुग्वे समूह चरणमै बाहिरिनु हो। दक्षिण अमेरिकी फुटबलको परम्परागत शक्तिका रूपमा चिनिने उरुग्वे अपेक्षाकृत कमजोर प्रदर्शनका कारण शीर्ष स्थानमा पुग्न सकेन र समूह चरणमै घर फर्कियो।

यो नतिजालाई विश्व फुटबल विश्लेषकहरूले ‘सबैभन्दा ठूलो उलटफेर’ मध्ये एकका रूपमा लिएका छन्।

एसियाबाट यस विश्वकपमा ९ टोलीले सहभागिता जनाए पनि केवल दुई टोली जापान र अस्ट्रेलियाले मात्रै नकआउट चरणमा स्थान बनाउन सफल भए।

समूह चरणमै बाहिरिएका एसियाली टोलीहरूमा दक्षिण कोरिया, इरान, जोर्डन, इराक, साउदी अरेबिया, उज्बेकिस्तान र कतार रहेका छन्।

विश्लेषकहरूका अनुसार एसियाली फुटबलले संरचनागत सुधार र विकास गरिरहेको देखिए पनि उच्च स्तरको निरन्तर प्रदर्शनमा अझै चुनौती कायम छ।

युरोपेली महादेशबाट चेक रिपब्लिक, स्कटल्यान्ड र टर्की समूह चरणबाट बाहिरिए। युरोपका अन्य शक्तिशाली टोलीहरूले भने नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल भए।

टर्कीको बाहिरिनु विशेष रूपमा आश्चर्यजनक मानिएको छ, किनकि पछिल्ला प्रतियोगिताहरूमा उसको प्रदर्शन सुधारिँदै गएको थियो।

अफ्रिकाबाट सहभागी १० टोलीमध्ये ९ टोली नकआउट चरणमा प्रवेश गर्न सफल भए, जुन यस संस्करणको सबैभन्दा बलियो महादेशीय प्रदर्शनमध्ये एक हो।

तर ट्युनिसिया भने समूह चरणमै बाहिरिने एकमात्र अफ्रिकी टोली बन्यो। अन्य अफ्रिकी टोलीहरूको प्रदर्शनले महादेशीय फुटबलको बढ्दो प्रतिस्पर्धात्मक क्षमता देखाएको छ।

उत्तर अमेरिका र कन्काकाफ क्षेत्रबाट सहभागी पानामा, हाइटी र कुरासाओ समूह चरणमै बाहिरिए।

ओसियानाबाट सहभागी न्यूजील्यान्ड पनि समूह चरण पार गर्न असफल रह्यो, जसले उक्त क्षेत्रको सीमित प्रतिस्पर्धात्मक क्षमतालाई पुनः उजागर गरेको छ।

अब ३२ टोलीबीच सुरु हुने नकआउट चरणलाई प्रतियोगिताको वास्तविक परीक्षा मानिन्छ। समूह चरणमा देखिएको अपसेट र ठूला टोलीहरूको असफलताले यस पटकको विश्वकपलाई अझ अनिश्चित र रोमाञ्चक बनाएको छ।

विश्लेषकहरूका अनुसार नकआउट चरणमा प्रत्येक खेल ‘कर वा मरो’को स्थितिमा हुने भएकाले उपाधिको दौड अझ अप्रत्याशित बन्न सक्छ।

विश्व फुटबलका समर्थकहरू अब अर्को चरणका खेलहरूमा नयाँ इतिहास बन्ने प्रतीक्षामा छन्।

सभामुख अर्यालद्वारा नागढुंगा सुरुङमार्गको निरीक्षण [तस्वीरहरु]

काठमाडौं। सभामुख डीपी अर्यालले काठमाडौं र धादिङ जोड्ने निर्माणाधीन नागढुंगा सुरुङमार्गको निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा सभामुख अर्यालले आयोजनाको निर्माण प्रगति, सुरुङमार्गका प्राविधिक पक्ष तथा बाँकी रहेका कामबारे आयोजना पदाधिकारीसँग जानकारी लिएका थिए। उनले निर्धारित समयमै निर्माण सम्पन्न गरी सर्वसाधारणको सेवामा सुरुङमार्ग सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई आवश्यक समन्वय र प्रभावकारी कार्यसम्पादन गर्न आग्रह गरेका छन्।

आयोजना पक्षले सुरुङमार्गको हालसम्मको भौतिक प्रगति, परीक्षण तथा सञ्चालनको तयारीबारे सभामुखलाई जानकारी गराएको थियो।

नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा प्रवेश गर्ने तथा बाहिरिने सवारीसाधनको यात्रा समय घट्नुका साथै ट्राफिक व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ।

 

सुस्ताको माटो बोकेर पहिचानको लडाइमा सुस्ताबासी(फोटो-फिचर)

काठमाडौं। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को सुस्ता क्षेत्रका बासिन्दा नागरिकता, लालपुर्जा र सीमा सुरक्षाको माग गर्दै काठमाडौं आएका छन्। आफ्नै गाउँको माटो बोकेर राजधानी आइपुगेका उनीहरूले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै सरकारसँग आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्।

सुस्ताबासीहरूले नागरिकता र लालपुर्जाविहीन अवस्थामा वर्षौंदेखि बाँच्नुपरेको गुनासो गर्दै सीमा क्षेत्रमा नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले प्रदर्शनका क्रममा सुस्ताको माटो प्रदर्शनस्थलमा राख्दै आफ्नो भूमि र पहिचान जोगाइदिन सरकारसँग अपिल गरेका थिए। 

सुस्ता–बर्दघाटका घर भएका हेमराज दाहालका अनुसार भारतीय एसएसबीले खेतमा रहेको ट्याक्टर हटाउनसमेत धम्की दिने गर्छ। वर्षौंदेखि सीमा सुरक्षाको जिम्मेवारी बोर्डर छेउका नागरिकले नै निभाउँदै आए पनि सरकारले त्यसको कुनै मूल्यांकन नगरेको उनले दुखेसो पोखे।

‘सीमाको सुरक्षा हामीले गर्छौं, तर सरकारले हामीलाई नै अप्ठ्यारोमा पारिदिन्छ,’ हेमराजले भने।

प्रधानमन्त्री बालेन्द्र शाहको हस्तक्षेपपछि भारतीय हस्तक्षेप झन् बढेको उनले बताए। ‘प्रधानमन्त्रीले नेपालले भारतको जग्गा मिचेको छ भनेपछि हामी झन् अप्ठ्यारोमा पर्यौं। अहिले भारतीय सीमा सुरक्षा बल दैनिकजसो सुस्ता छिर्छ र हामीलाई धम्की दिएर फर्किन्छ,’ उनले भने।

प्रदर्शनमा सहभागीहरूले पछिल्लो समय भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले सुस्ता क्षेत्रमा प्रवेश गरी स्थानीयलाई धम्क्याउने र मानसिक दबाब दिने गतिविधि बढेको आरोप लगाए। उनीहरूका अनुसार विशेषगरी पछिल्ला दुई महिनायता सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीको गतिविधि बढेपछि स्थानीय त्रसित बनेका छन्।

माइतीघर पुगेका अधिकांश सुस्ताबासीले नागरिकता र पहिचानको माग गरिरहेका छन्। सधैँभरी भारतीय हेपाइ र अत्याचार बस्न नसक्ने उनीहरुको गुनासो छ। 

‘भारतीय एसएसबी आएर हामीलाई दुख दिन्छ। बन्दुक देखाएर तर्साउछ। गोली खान परेपनि नेपालकै गोली खान्छौँ, हामीलाई नागरिकता चाहियो,’ प्रदर्शनमा सहभागी एक महिलाले भनिन्। 

पहिलो चरणमा करिब ६० परिवारका प्रतिनिधि काठमाडौं आएको जनाइएको छ। उनीहरूले माइतीघर मण्डलाबाटै अनिश्चितकालीन आन्दोलन सुरु गरेको बताएका छन्। सरकारबाट माग सम्बोधन नभए दोस्रो चरणमा थप पीडित परिवार पनि काठमाडौं आएर आन्दोलनमा सहभागी हुने चेतावनी उनीहरूले दिएका छन्।

आन्दोलनमा सहभागी एक स्थानीयले वर्षौंदेखि आफ्नै देशमा नागरिकता र लालपुर्जाविहीन भएर बाँच्नुपरेको भन्दै सीमा क्षेत्रमा सुरक्षाको प्रत्याभूति हुन नसकेको गुनासो गरे।

‘हामी आफ्नै देशमा नागरिकता र लालपुर्जाविहीन भएर बाँचिरहेका छौं। अहिले त भारतीय सुरक्षाकर्मी गाउँमै आएर धम्क्याउन थालेका छन्। सरकारले हाम्रो सुरक्षा र अधिकार सुनिश्चित गर्नुपर्छ,’ उनले भने।

सुस्ताबासीहरूले सीमा क्षेत्रमा नेपाली नागरिकको सुरक्षा, नागरिकता तथा लालपुर्जाको समस्या समाधानका लागि तत्काल ठोस पहल गर्न सरकारसँग माग गरेका छन्।

जेनजी आन्दोलनमा आखिर कहाँ चुक्यो सुरक्षा संयन्त्र?

काठमाडौं। जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीले गरेको बल प्रयोग, कमान्ड संरचना र सुरक्षा व्यवस्थापनबारे अध्ययन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो अध्ययन प्रक्रिया सम्पन्न गरेको छ। 

समितिले अहिले प्रतिवेदन लेखनको अन्तिम चरणमा काम गरिरहेको जनाएको हो। प्रारम्भिक अध्ययनबाट विशेषगरी नयाँ बानेश्वर क्षेत्रमा भएको हिंसात्मक घटनाका क्रममा सुरक्षा व्यवस्थापनमा विभिन्न तहमा ‘ल्याकिङ’ अर्थात् कमजोरी देखिएको निष्कर्ष निकालिएको स्रोतले जनाएको छ।

सरकारले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सुरक्षा निकायका प्रमुख र कमान्डरहरूमाथि गरेको कारबाही सिफारिसको अध्ययन गर्न वैशाख २ गते उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्व एआईजी टेकप्रसाद राई सदस्य छन्।

समितिका संयोजक प्रेमराज कार्कीका अनुसार प्रमाण, भिडियो, घटनास्थलको विवरण तथा सम्बन्धित अधिकारीहरूसँगको छलफलपछि अध्ययन सम्पन्न भइसकेको छ र अहिले सिफारिससहितको प्रतिवेदन तयार पार्ने काम भइरहेको छ। उनले निर्धारित समयभित्रै सरकारलाई प्रतिवेदन बुझाइने बताए।

समितिले विशेषगरी २०८२ भदौ २३ गते काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा भएको हिंसात्मक घटनाको विस्तृत अध्ययन गरेको छ। अध्ययनका क्रममा कुनै एक पक्षको मात्र नभई सुरक्षा तयारी, कमान्ड, स्रोत-साधन तथा परिस्थिति व्यवस्थापनलगायत विभिन्न पक्षमा कमजोरी देखिएको निष्कर्ष निकालिएको समितिका सदस्यहरूले बताएका छन्।

संयोजक कार्कीका अनुसार भदौ २३ को घटना ‘ल्याकिङको एकीकृत परिणाम’ थियो। उनका अनुसार सुरक्षा निकायका विभिन्न तहमा देखिएका कमजोरीहरू अन्ततः एउटै घटनामा एकसाथ प्रकट भएका थिए।

समितिका एक सदस्यका अनुसार सुरक्षाकर्मीले सुरुमा संसद् भवनतर्फ अघि बढेका प्रदर्शनकारीलाई सम्झाइबुझाइ गरेर रोक्ने प्रयास गरेका थिए। बन्दुक बोकेका सुरक्षाकर्मीले हात जोडेर प्रदर्शनकारीलाई पछाडि फर्किन आग्रह गरेको दृश्यसमेत अध्ययनका क्रममा भेटिएको जनाइएको छ।

तर प्रदर्शनकारीको संख्या छोटो समयमा अप्रत्याशित रूपमा बढ्दै गएपछि सुरक्षा घेरा कमजोर बनेको र त्यसपछि सुरक्षाकर्मी आत्तिएको अध्ययनले देखाएको छ। परिस्थिति नियन्त्रणबाहिर जान थालेपछि बल प्रयोगको मात्रा पनि बढ्दै गएको समितिको निष्कर्ष छ।

अध्ययनअनुसार सुरक्षाकर्मीले चरणबद्ध रूपमा बल प्रयोग गरे पनि स्थिति बिग्रिँदै जाँदा नयाँ बानेश्वर क्षेत्रमा अत्यधिक गोली चलाइएको देखिएको छ। संसद् भवनजस्तो संवेदनशील संरचना जोगाउने कानुनी जिम्मेवारी सुरक्षा निकायसँग रहे पनि त्यसक्रममा भएको गोली प्रहारबाट धेरै प्रदर्शनकारीको ज्यान जानु सुरक्षा व्यवस्थापनको कमजोरीका रूपमा औँल्याइएको छ।

समितिको अध्ययनअनुसार प्रदर्शनकारीले एम्बुलेन्स तथा अन्य सवारीसाधनमा आगजनी गर्न थालेपछि सुरक्षाकर्मीले गोली चलाएको देखिएको छ। प्रारम्भिक हिंसात्मक गतिविधि सुरु भएपछि सुरक्षाकर्मीले करिब सात मिनेटसम्म स्थिति नियन्त्रण गर्ने प्रयास गरेको अध्ययनमा उल्लेख गरिएको छ। त्यसपछि परिस्थिति थप जटिल बन्दै गएपछि गोली प्रहार गरिएको निष्कर्ष निकालिएको छ।

समितिले सुरक्षा निकायसँग आवश्यक स्रोत र साधनको अभाव रहेको विषयलाई पनि प्रतिवेदनको महत्वपूर्ण पक्ष बनाएको छ। सरोकारवाला अधिकारीहरूसँगको छलफल तथा अभिलेख अध्ययनका क्रममा करिब १० वर्षदेखि नेपाल प्रहरीले भिड नियन्त्रणका लागि आवश्यक आधुनिक सामग्री खरिद नगरेको तथ्य समितिले उल्लेख गरेको छ।

समितिका अनुसार आवश्यक उपकरण, सुरक्षा सामग्री र आधुनिक भीड व्यवस्थापन साधनको अभावले पनि सुरक्षाकर्मीलाई वैकल्पिक उपायभन्दा बल प्रयोगतर्फ जान बाध्य बनाएको देखिएको छ। यही आधारमा आगामी दिनमा स्रोत–साधन सुदृढ बनाउन सरकारलाई विशेष सिफारिस गरिने तयारी गरिएको छ।

समितिले प्रतिवेदन तयार पार्ने क्रममा श्रीलंका, इन्डोनेसिया, केन्या, फ्रान्स, हङकङ र ट्युनिसियामा भएका जनआन्दोलन तथा भीड नियन्त्रणका घटनाहरूको अध्ययन गरेको जनाएको छ। साथै, संयुक्त राष्ट्रसंघको ‘बल प्रयोग तथा हतियार प्रयोग सम्बन्धी आधारभूत सिद्धान्त’लाई समेत आधार मानेर नेपालको घटनाको मूल्याङ्कन गरिएको समितिका सदस्यहरूले बताएका छन्।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन केन्द्रीय सुरक्षा समितिका पदाधिकारी, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल तथा सुरक्षा निकायका उच्च अधिकारीहरूमाथि फौजदारी अनुसन्धान र विभागीय कारबाही गर्न सिफारिस गरेको थियो। आयोगले तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अधिकारी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापामाथि समेत अनुसन्धान गर्नुपर्ने राय दिएको थियो।

तर अध्ययन समितिले जाँचबुझ आयोगले प्रत्यक्ष रूपमा फौजदारी दफा तोकेर कारबाही सिफारिस गर्न मिल्ने वा नमिल्ने भन्ने कानुनी पक्षको समेत समीक्षा गरिरहेको जनाएको छ। समितिका एक सदस्यका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १८१ अनुसार यस्ता विषयमा अन्तिम निर्णय महान्यायाधिवक्ताको कार्यालयबाट हुने भएकाले सोही कानुनी व्यवस्थालाई आधार बनाएर सुझाव तयार पारिनेछ।

समितिको कार्यकाल असार २२ गतेसम्म रहेको छ। निर्धारित समयभित्र प्रतिवेदन मन्त्रिपरिषद्लाई बुझाउने तयारी भइरहेको समितिले जनाएको छ। 

ग्वो वन्ग्वेलाई अमेरिकामा ३० वर्ष जेल सजाय

एजेन्सी। संयुक्त राज्य अमेरिकाको एक संघीय अदालतले चीनका पूर्व अर्बपति तथा व्यवसायी ग्वो वन्ग्वेलाई करिब एक अर्ब अमेरिकी डलर बराबरको ठगी तथा आर्थिक अपराधसम्बन्धी मुद्दामा ३० वर्षको जेल सजाय सुनाएको छ।

न्यूयोर्कस्थित संघीय अदालतले उनलाई ठगी, जबरजस्ती रकम असुली तथा सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) लगायतका आरोपमा दोषी ठहर गर्दै उक्त फैसला सुनाएको हो।

न्यूयोर्ककी संघीय न्यायाधीश एनालिसा टोरेसले फैसला सुनाउँदै ग्वोले चीनमा लोकतन्त्रको पक्षमा रहेको दाबी गर्दै आफ्ना समर्थक र लगानीकर्ताहरूको विश्वासको दुरुपयोग गरेको उल्लेख गरिन्। उनका अनुसार ‘चीनमा लोकतन्त्र ल्याउने अभियान’को नाममा संकलन गरिएको रकम उनले आफ्नै विलासी जीवनशैली, महँगा सम्पत्ति, निजी याट, लक्जरी सवारीसाधन र अन्य व्यक्तिगत खर्चमा प्रयोग गरेका थिए।

ग्वो चीनका एक समयका सबैभन्दा धनी घरजग्गा व्यवसायीमध्ये एक थिए। उनी सन् २०१७ मा चीन छाडेर संयुक्त राज्य अमेरिका पुगेका थिए र त्यसपछि चिनियाँ कम्युनिस्ट पार्टीका कट्टर आलोचकका रूपमा परिचित बने। उनले निर्वासनमा बसेर विभिन्न राजनीतिक अभियान सञ्चालन गरेका थिए र आफूलाई चिनियाँ सरकारको राजनीतिक प्रतिशोधको सिकार भएको दाबी गर्दै आएका थिए।

अमेरिकी अभियोजन पक्षका अनुसार ग्वोले आफ्ना समर्थक तथा लगानीकर्ताबाट विभिन्न परियोजना, लगानी योजना र राजनीतिक अभियानका नाममा करिब एक अर्ब अमेरिकी डलर संकलन गरेका थिए। तर उक्त रकमको ठूलो हिस्सा व्यक्तिगत विलासी जीवनशैली र निजी प्रयोजनमा खर्च गरिएको प्रमाण अदालतमा प्रस्तुत भएपछि उनी दोषी ठहर भएका हुन्।

सजाय सुनाउने क्रममा अदालतमा ग्वोका समर्थकहरूको उपस्थिति रहेको थियो। बीबीसीका अनुसार उनका कानुनी प्रतिनिधिसँग प्रतिक्रिया लिन खोजिए पनि समाचार तयार पार्दासम्म कुनै आधिकारिक प्रतिक्रिया प्राप्त भएको छैन।

यो फैसला अमेरिकी इतिहासकै चर्चित वित्तीय ठगीसम्बन्धी मुद्दामध्ये एक मानिएको छ।

नेप्से लगातार दोस्रो दिन घट्यो, बजार २४ अंकले ओरालो

काठमाडौं । नेपाली सेयर बजार मंगलबार पनि घटेको छ। साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४.६३ अंकले घट्दै २,६०८.३३ बिन्दुमा झरेको हो।

लगातार दोस्रो दिन बजार घटेसँगै लगानीकर्ताको मनोबल कमजोर देखिएको विश्लेषण गरिएको छ।

आज नेप्सेमा सूचीकृत ३६५ कम्पनीका कुल ८७ लाख ३७ हजार ३९२ कित्ता सेयर किनबेच भएका छन्। यस दिनको कुल कारोबार रकम ३ अर्ब २५ करोड रुपैयाँभन्दा बढी पुगेको नेप्सेले जनाएको छ।

बजारमा केही कम्पनीमा कारोबार सक्रिय भए पनि समग्र सूचक भने दबाबमा देखिएको हो।

कारोबार रकमका आधारमा सिद्धार्थ बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। बैंकको करिब १३ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

बैंकिङ समूहमा केन्द्रित कारोबारले बजारको कुल कारोबार हिस्सा बढाएको देखिन्छ।

आजको कारोबारमा स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी नाफा आर्जन गरेका छन्।

यता टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरेका छन्।

लगातार दुई दिनको गिरावटसँगै नेप्से सूचक ओरालो लाग्दा बजारमा अनिश्चितता बढेको देखिएको छ। विश्लेषकहरूका अनुसार नीतिगत स्पष्टता, तरलता अवस्था र लगानीकर्ताको मनोवृत्तिले आगामी दिनमा बजारको दिशा निर्धारण गर्नेछ।

एमालेले किन गर्‍यो पाँच जनालाई निष्काशन?

बर्दिया । नेकपा (एमाले) बर्दिया जिल्ला कमिटीले पाँच जना सदस्यलाई पार्टीबाट निष्कासन गरेको छ। अन्य राजनीतिक दलमा संलग्न भएको र पार्टीको हितविपरीत गतिविधि गरेको आरोप लगाउँदै उनीहरूलाई कारबाही गरिएको हो।

जिल्ला कमिटीद्वारा जारी विज्ञप्तिअनुसार बाँसगढी–५ का रामसिंह थारु, बढैयाताल–६ का बालकृष्ण लामिछाने र मुना लामिछाने, मधुवन–८ का धर्मराज थापा तथा गुलरिया–५ का कपिल ज्ञवालीलाई पार्टीबाट हटाइएको छ।

पार्टीले नेकपा (एमाले) को विधान २०४९ (संशोधनसहित २०७८) को धारा ८० अनुसार अनुशासन उल्लंघन गरेको ठहर गर्दै कारबाही गरिएको जनाएको छ।

विज्ञप्तिमा उल्लेख छ, ‘अन्य दलमा संलग्न भएको र पार्टीको हितविपरीत कार्य गरेको पाइएकाले उनीहरूको साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरिएको हो।’

पार्टीले गरेको यो कारबाहीलाई आन्तरिक अनुशासन सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ। स्थानीय तहमा राजनीतिक गतिविधि सक्रिय भइरहेका बेला संगठनभित्र एकरूपता कायम राख्न यस्तो निर्णय गरिएको एमाले बर्दिया स्रोतले जनाएको छ।

यद्यपि कारबाहीमा परेका व्यक्तिहरूको प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।

‘सरकारको हस्तक्षेपले एन्फामाथि प्रतिबन्ध’[भिडियाे]

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल फुटबल संघ (एन्फा) मा सरकारको हस्तक्षेपका कारण अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्था सिर्जना भएको दाबी गरेका छन्।

नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले नेपाली फुटबलको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्।

ओलीले खेलकुदलाई समाजको स्वास्थ्य, संस्कृति र विकासको स्तर प्रतिबिम्बित गर्ने महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गर्दै विश्व फुटबलमा नेपालभन्दा साना र विकासशील देशहरूले उल्लेखनीय प्रगति गरिरहेको अवस्थामा नेपाल भने अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्थामा पुगेको टिप्पणी गरे।

उनका अनुसार यस्तो अवस्था हुनु ‘उल्टो दिशातर्फको संकेत’ हो।

ओलीले नेपाल फुटबल संघ (एन्फा) मा बाह्य तथा सरकारी हस्तक्षेप भएको आरोप लगाउँदै त्यसैका कारण अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्धको अवस्था आएको दाबी गरे।

उनले भने, ‘अहिले विश्व फुटबल चलिरहेको छ। हामीभन्दा साना देशहरूले कमालको प्रदर्शन गरिरहेका छन्। हाम्रो एन्फा अन्तर्राष्ट्रिय खेलका लागि प्रतिबन्धित भएको छ। यस्तो उल्टो कुरा छ।’

उनका अनुसार खेलकुद क्षेत्रमा स्वतन्त्रता, पारदर्शिता र योग्यताको आधारमा व्यवस्थापन हुनुपर्ने भए पनि त्यसको विपरीत हस्तक्षेप बढेकाले समस्या उत्पन्न भएको हो।

ओलीले खेलाडीको क्षमता विकासका लागि पर्याप्त पोषण, प्रशिक्षण र भौतिक पूर्वाधार आवश्यक हुने उल्लेख गरे। तर त्यस्तो वातावरण पर्याप्त रूपमा निर्माण हुन नसकेको उनको टिप्पणी थियो।

उनले भने, ‘खेलाडी खान नपाएर कमजोर हुने, शारीरिक विकास गर्न नपाउने अवस्था हुनुहुँदैन। सरकारले यसतर्फ ध्यान दिनुपर्छ।’

उनका अनुसार क्षमता नभएको क्षेत्रमा जबरजस्ती अघि बढाउने प्रवृत्तिले अपेक्षित परिणाम नदिने भएकाले खेलाडीलाई उनीहरूको योग्यताअनुसार प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ।

ओलीको अभिव्यक्तिले खेलकुद प्रशासनमा राजनीतिक हस्तक्षेपको बहस पुनः सतहमा आएको छ। एन्फा जस्ता खेल संस्था स्वतन्त्र हुनुपर्ने वा राज्यको नियन्त्रण र निगरानी कति हुनुपर्छ भन्ने विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ।

खेल क्षेत्रका विश्लेषकहरूका अनुसार संरचनागत सुधार, पारदर्शिता र अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन नहुँदा खेलकुद संस्थाहरू बारम्बार विवादमा आउने गरेका छन्।

ओलीले विश्व फुटबलमा साना देशहरूको प्रगतिलाई उदाहरण दिँदै नेपाल पछाडि पर्नुको कारण नीतिगत कमजोरी र व्यवस्थापकीय समस्या भएको संकेत गरे।

उनका अनुसार खेलकुद केवल प्रतियोगिता मात्र नभई राष्ट्रको छवि, संस्कृति र क्षमता प्रदर्शन गर्ने माध्यम भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता छ।

ओलीको अभिव्यक्तिले नेपालमा खेलकुद प्रशासन, राजनीतिक हस्तक्षेप र संस्थागत स्वतन्त्रताबारे पुनः बहस सुरु गराएको छ। एकातर्फ उनले एन्फामाथि सरकारी हस्तक्षेपको आरोप लगाएका छन् भने अर्कोतर्फ खेलाडी विकास र पूर्वाधारमा राज्यको भूमिका अपरिहार्य भएको स्वीकार गरेका छन्।

यसले नेपालमा खेलकुद शासन प्रणाली सुधारको आवश्यकता अझै कायम रहेको संकेत गरेको विश्लेषकहरू बताउँछन्।

 

गृहमन्त्रीका खास मान्छेले ‘ह्यारेस’ गरे, साइबर ब्युरोले उजुरी लिन मानेन [भिडियो]

काठमाडौं। नायिका उषा रजकले सामाजिक सञ्जालमार्फत मध्यरातमा सन्जोक कार्की नाम गरेका व्यक्तिले आफूलाई फोन तथा मेसेन्जरमार्फत लगातार सम्पर्क गरी मानसिक तनाव दिएको (मेन्टल ह्यारेसमेन्ट) आरोप लगाएकी छन्।

रजकले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत च्याटका स्क्रिनसटसमेत सार्वजनिक गर्दै उक्त व्यक्ति सन्जोक कार्की भएको दाबी गरेकी हुन्। उनले भिडियो सन्देशमार्फत पनि घटनाबारे जानकारी दिँदै आफूलाई रातभरि अनावश्यक रूपमा फोन गरिएको बताएकी छन्।

सार्वजनिक गरिएको मेसेन्जर स्क्रिनसटका अनुसार सन्जोक कार्की नामका प्रयोगकर्ताले राति ३:१९, ४:०४ र ४:२३ बजे गरी तीन पटक लगातार कल गरेको देखिन्छ।

रजकका अनुसार यस्तो लगातारको सम्पर्कले आफूलाई मानसिक रूपमा असहज बनाएको र यसलाई ‘ह्यारेसमेन्ट’का रूपमा लिनुपर्ने उनको भनाइ छ।

उनीद्वारा सार्वजनिक भिडियोमा उनले सन्जोक कार्कीलाई गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव जेम्स कार्कीका भाइ भएको दाबीसमेत गरेकी छन्। यस विषयमा उनले सार्वजनिक रूपमा प्रश्न उठाउँदै घटनालाई सामान्य रूपमा नलिन आग्रह गरेकी छन्।

रजकले यस विषयमा साइबर ब्युरोमा उजुरी दिन खोज्दा प्रहरीले रिपोर्ट दर्ता गर्न अस्वीकार गरेको पनि आरोप लगाएकी छन्।

उनका अनुसार प्रहरी अधिकारीहरूले रिपोर्ट दर्ताका लागि अपमानजनक वा आपराधिक शब्द स्पष्ट रूपमा प्रयोग भएको हुनुपर्ने बताएका थिए। रजकले भने आफूले सामान्य मानसिक तनाव र लगातारको फोनकललाई नै उजुरीको आधार बनाएको बताएकी छन्।

रजकले भिडियो सन्देशमा भ्रष्टाचार र शक्ति दुरुपयोगविरुद्ध उठेको आन्दोलन (जेनजी आन्दोलन) पछि बनेको प्रतिनिधित्वलाई सम्मान गर्नुपर्ने भन्दै यस्तो व्यवहारले त्यसको मर्ममाथि प्रश्न उठ्ने बताएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश दिँदै कसैलाई पनि यसरी अनावश्यक रूपमा मानसिक तनाव नदिन आग्रह गरेकी छन्।

रजकले उल्लेख गरेको सन्जोक कार्की नामको फेसबुक अकाउन्टमार्फत सम्पर्क गर्ने प्रयास गर्दा कुनै प्रतिक्रिया नआएको बताइएको छ। त्यस्तै, जेम्स कार्कीलाई सम्पर्क गर्दा फोन नउठाएको पनि उनले जानकारी दिएकी छन्।

घटनाबारे आधिकारिक निकायबाट थप पुष्टि भने भइसकेको छैन।

भिडियो:

बालेन त्यसबेला पक्राउ परेनन्

काठमाडाै‌ं। सिंहदरबारमा खुकुरी लिएर जान सकिन्छ भन्दा सुकुम्बासी डम्बर तामाङ पक्राउ परे। उनी अहिले प्रहरी हिरासतमा छन्। तर काठमाडौंका मेयर हुँदा अहिलेका प्रधानमन्त्री बालेनले ‘सिंहदरबार जलाइदिन्छु’ भने, उनी पक्राउ परेनन्। उनको त्यो अभिव्यक्ति देशको प्रमुख प्रशासनिक अड्डा जलाउने धम्की हिंसाप्रेरित थियो।

तर, त्यसबेलाका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेनलाई पक्राउ गराएनन्। भनिन्छ, कांग्रेस सभापति शेरबहादुर देउवाले बालेनलाई पक्राउ गर्न रोकेका थिए। उनले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्ने र बोल्ने बित्तिकै आगो नलाग्ने भन्दै पक्राउ गर्न नहुने बताएका थिए।

देउवाका कारण पक्राउ पर्नबाट जोगिएका बालेनले यतिबेला सिंहदरबारमा खुकुरी लिएर जान सकिन्छ भन्दा सुकुम्बासी डम्बर तामाङलाई पक्राउ गराए। अर्थात् प्रधानमन्त्री बालेनले सत्ता र शक्तिको तुजुक देखाए। उनलाई प्रहरी हिरासतमा थुनाए।

बालेन तिनै प्रधानमन्त्री हुन्, जसले तामाङसहित हजारौँ नागरिकलाई काठमाडौंको खोला किनारमा रहेका सुकुम्बासी बस्तीबाट गत १२ वैशाखदेखि झण्डै एक सातासम्म डोजर चलाएर हटाए। विभिन्न आश्रयस्थलमा लगेर राखे। उनीहरूको दीगो व्यवस्थापन गर्ने वाचा गरे।

तर, आश्रयस्थलमा उनीहरूले पेटभरि खान पाएनन्। त्यसपछि उनीहरू आन्दोलित भए। संसदीय समितिले अनुगमनपछि सुकुम्बासीमाथि बालेन सरकारको ज्यादती भएको खुलायो। तर पनि प्रधानमन्त्री बालेनले बेवास्ता गरे। अझ उनले सुकुम्बासीहरूलाई आश्रयस्थलबाट २५ हजार रुपैयाँ दिएर हटाउन खोजेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै यही १२ असारमा आश्रयस्थलबाट हट्न निर्देशन दियो। त्यसपछि उनीहरू काठमाडौंको माइतीघरमा आन्दोलित छन्। आन्दोलनमा सहभागी तामाङले बालेन सरकारले अत्याचार गरेको, व्यवस्थापनका नाममा विस्थापन गरेको र व्यवस्थापनका लागि कुनै कदम नचालेको भन्दै आक्रोश व्यक्त गर्दै सिंहदरबारमा खुकुरी लिएर जान सकिने बताएका थिए। सोही आधारमा तामाङ पक्राउ परेका हुन्। उनलाई आइतबार प्रहरीले कीर्तिपुरस्थित होल्डिङ सेन्टर नजिकैबाट पक्राउ गरेको थियो। उनले सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोप प्रहरीले लगाएको छ।

तर, सुकुम्बासीहरूले भने विरोधको आवाज थुन्न खोजिएको भन्दै त्यसको प्रतिवाद गरेका छन्। आफूचाहिँ हिजो सिंहदरबार जलाउँछु भन्ने, तर आज अरूले सिंहदरबारभित्र खुकुरी लिएर जान सकिन्छ भन्दा पक्राउ गर्नु कत्तिको जायज हो ? सुकुम्बासीहरूले प्रश्न गरिरहेका छन्।

कतिपयले बालेन मेयर हुँदा उनले पटकपटक हिंसाप्रेरित अभिव्यक्ति दिएको स्मरण गरेका छन्। सिंहदरबार जलाउनेदेखि उनले अश्लील शब्दहरू पनि बारम्बार प्रयोग गर्थे। तर, उनका समर्थकहरू बालेनले यस्तो भन्दा र लेख्दा निकै खुसी हुन्थे। अहिले पनि खुसी हुन्छन्। उनी र्‍यापर हुँदा भने छाडा शब्दहरू प्रयोग गर्थे। उनका र्‍याप परिवारका सदस्यहरूसँगै बसेर सुन्न नसकिने खालका हुन्थे।

भनिन्छ, उनले र्‍यापमार्फत तत्कालीन सरकारको कडा आलोचना मात्रै गरेनन्, छाडा शब्द प्रयोग गरेर नवपुस्तालाई थेत्तरो बनाउन पनि सहयोग गरे। यद्यपि, उनी जतिखेर र्‍यापर थिए, त्यसबेला गरिबको पक्षमा बोल्थे। भन्थे- गरिबको चमेली बोलिदिने कोही छैन।

तर, जब उनी काठमाडौंका मेयर हुँदै प्रधानमन्त्री भए, उनी गरिबमारा बने। डम्बर तामाङसहितका सुकुम्बासीलाई बिना पूर्वतयारी सुकुम्बासी बस्तीबाट सेनाको प्रयोग गरी बलपूर्वक हटाए। काठमाडौंका मेयर हुँदा ठेलामा तरकारी बेच्नेहरूलाई खेदाए। कवाडी संकलन गर्नेहरूलाई धपाए। अर्थात् उनी गरिबविरोधी भए। उनका सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि गरिबलाई झन् गरिब बनाउने बजेट ल्याए।

यसप्रति प्रतिपक्ष दलहरूले बालेन सरकारको विरोध गरेका छन् भने २५ हजार रुपैयाँ दिएर आश्रयस्थलबाट हटाउने सरकारको कदमप्रति असन्तुष्ट हुँदै सिंहदरबारमा खुकुरी लिएर जाने बताएका तामाङलाई पक्राउ गरेर जेलतर्फ पठाउने प्रपञ्चमा बालेन सरकार लागेको आरोप लगाइएको छ।

बालेन सरकारको यस्तो गतिविधिलाई कतिपयले निरंकुश र अधिनायकवादी चरित्रको रूपमा आलोचना गरेका छन्। पक्राउ परेका तामाङको रिहाइको माग भइरहेको छ। उनकी श्रीमती गायत्री तामाङले डम्बर खुकुरी बोकेर हिँड्ने मान्छे नभएको र सरकारले २५ हजार रुपैयाँ दिएर धपाउन खोज्दा आक्रोशित भएर त्यस्तो बोलेको हुन सक्ने भन्दै क्षमा मागेकी छन्। तर, उनका श्रीमान् डम्बर तामाङ अझै रिहा भएका छैनन्।

 

सिरियाको बफर जोनमा किन जरा गाड्न खोज्दैछ इजरायल?

काठमाडौं। संयुक्त राष्ट्रसंघको निगरानीमा रहेको दक्षिणी सिरियाको बफर जोनमा इजरायलले अनिश्चितकालसम्म सैन्य उपस्थिति कायम राख्ने निर्णय गरेपछि त्यस क्षेत्रको सुरक्षा अवस्था थप जटिल बनेको छ।

दक्षिणी सिरियाको अब्दिन गाउँमा प्रवेश गरेको इजरायली सेनाको स्थानीय बासिन्दासँग झडप भएपछि तनाव अझ बढेको हो।

प्रत्यक्षदर्शीहरूका अनुसार गाउँमा प्रवेश गरेका इजरायली सैनिकलाई स्थानीयले सडक अवरुद्ध गरेर विरोध जनाएका थिए। गाउँलेहरूले सडकमा ठूला ढुंगा राख्दै सैन्य सवारीसाधनको आवागमन रोक्ने प्रयास गरेका थिए भने केही प्रदर्शनकारीले सैनिकमाथि ढुंगामुढासमेत गरेका थिए।

स्थिति नियन्त्रणमा लिन इजरायली सेनाले हवाइ फायर गरेको र केही घरका पर्खालतर्फ चेतावनीस्वरूप गोली चलाएको बताइएको छ। त्यसक्रममा गाउँका केही क्षेत्रमा गोलाबारीसमेत भएपछि स्थानीयमा त्रास फैलिएको छ। घटनापछि धेरै परिवार गाउँ छाड्न बाध्य भएका छन् भने सोमबारसम्म पनि अधिकांश बासिन्दा आफ्नो घर फर्किन सकेका छैनन्।

सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल-शराअले घटनाप्रति गम्भीर आपत्ति जनाउँदै इजरायललाई बफर जोनबाट आफ्नो सेना तत्काल फिर्ता गर्न आग्रह गरेका छन्।

उनले सिरियाको सार्वभौमिकतामाथि हस्तक्षेप स्वीकार्य नहुने उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायलाई पनि घटनाप्रति ध्यान दिन आह्वान गरेका छन्।

इजरायलले भने आफ्नो कदम रक्षात्मक भएको दाबी गरेको छ। इजरायली सेनाका अनुसार भविष्यमा हुन सक्ने आक्रमण रोक्न र सीमाको सुरक्षा सुनिश्चित गर्न रणनीतिक रूपमा महत्वपूर्ण बफर जोनमा सैन्य उपस्थिति आवश्यक छ।

अब्दिन गाउँका स्थानीय बासिन्दा मोहम्मद अल-हसनका अनुसार इजरायली सैनिकहरू नियमित रूपमा बख्तरबन्द गाडी लिएर गाउँ प्रवेश गर्ने गरेका छन्।

उनका अनुसार सैनिकहरूले गाउँभरि गस्ती गर्ने, घर-घरमा तलासी लिने र ढोका नखोले जबर्जस्ती प्रवेश गर्ने गरेका छन्। यसले विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिकमा डरको वातावरण सिर्जना भएको उनले बताए।

स्थानीयका अनुसार बारम्बार हुने सैन्य गतिविधिका कारण सामान्य जनजीवन प्रभावित भएको छ भने खेतीपाती, व्यापार तथा विद्यालय सञ्चालनसमेत प्रभावित हुन थालेको छ।

अब्दिनमा भएको झडप पछिल्लो २४ घण्टाभित्र भएको दोस्रो महत्वपूर्ण सुरक्षा घटना हो।

यसअघि इजरायली सेनाले दक्षिणी सिरियामा आफ्ना सैनिकमाथि आक्रमण गर्ने तयारी गरिरहेका दुई जना बन्दुकधारीलाई कारबाहीमा मारिएको दाबी गरेको थियो। त्यसपछि सुरक्षा अवस्था झन् संवेदनशील बनेको बताइएको छ।

स्थानीय बासिन्दाले अमेरिका र फ्रान्सको पहलमा इजरायल र सिरियाबीच सुरक्षा वार्ता हुने अपेक्षा गरेका थिए। उनीहरूको विश्वास थियो कि कूटनीतिक संवादमार्फत सीमावर्ती क्षेत्रमा बढ्दो तनाव कम हुन सक्छ।

तर, प्रस्तावित वार्ता हाल रोकिएकाले स्थानीयमा अन्योल र चिन्ता थपिएको छ।

दक्षिणी सिरियाका सीमावर्ती गाउँहरूमा सुरक्षा चुनौतीसँगै आधारभूत सेवाको अभाव पनि गम्भीर समस्या बनेको छ।

स्थानीयका अनुसार सरकारी सुरक्षा चौकी गाउँबाट करिब १० किलोमिटर टाढा रहेकाले आपत्कालीन अवस्थामा तत्काल सुरक्षा सहायता प्राप्त गर्न कठिन हुने गरेको छ। त्यसैगरी बिजुली, खानेपानी तथा अन्य सार्वजनिक सेवाको अभावले स्थानीयको दैनिकी थप कष्टकर बनेको छ।

सुरक्षा जोखिम बढ्दै जाँदा धेरै परिवार सुरक्षित स्थानतर्फ बसाइँ सर्न थालेका छन्।

दक्षिणी सिरियाको बफर जोनलाई लिएर विवाद सन् २०२४ डिसेम्बरपछि तीव्र बनेको हो।

विद्रोही समूहको आक्रमणपछि तत्कालीन राष्ट्रपति बसर अल–असद सत्ताबाट बाहिरिएपछि इजरायलले संयुक्त राष्ट्रसंघको निगरानीमा रहेको बफर जोनमा आफ्ना सैनिक परिचालन गरेको थियो।

सुरुआती चरणमा इजरायलले यसलाई सीमाको सुरक्षाका लागि गरिएको अस्थायी व्यवस्था भनेको थियो। तर पछिल्ला महिनाहरूमा इजरायली अधिकारीहरूले उक्त क्षेत्रमा अनिश्चितकालसम्म सैन्य उपस्थिति कायम रहने संकेत दिएका छन्।

सन् २०२३ अक्टोबरमा हमासको आक्रमणपछि इजरायलले आफ्नो सुरक्षा रणनीतिमा व्यापक परिवर्तन गरेको छ।

गाजामा सैन्य अभियान विस्तारसँगै इजरायलले लेबनान र सिरियासँग जोडिएका सीमावर्ती केही क्षेत्रलाई पनि सुरक्षा बफरका रूपमा प्रयोग गर्न थालेको छ। इजरायलका अनुसार ती क्षेत्रबाट हिजबुल्लाहलगायत सशस्त्र समूहले विगतमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएकाले आफ्ना नागरिकको सुरक्षाका लागि यस्तो नीति अपनाउनुपरेको हो।

यद्यपि सिरियाले इजरायलको सैन्य उपस्थितिलाई आफ्नो सार्वभौमिकतामाथिको अतिक्रमण भनेको छ। अन्तर्राष्ट्रिय समुदायका विभिन्न पक्षले पनि संयुक्त राष्ट्रसंघको निगरानीमा रहेको क्षेत्रमा दीर्घकालीन सैन्य नियन्त्रण अन्तर्राष्ट्रिय कानुनको भावना विपरीत हुन सक्ने भन्दै चिन्ता व्यक्त गर्दै आएका छन्।

तनाव निरन्तर बढ्दै जाँदा कूटनीतिक समाधानको आवश्यकता झन् बढेको विश्लेषण गरिएको छ।

अन्तत: दुई महिनापछि पुनः सुरु भयो नेपाली चियाको निर्यात

काठमाडौं। झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको भारत निर्यात अन्ततः पुनः सुचारु भएको छ। भारतीय पक्षले गुणस्तर परीक्षणसम्बन्धी प्रक्रिया परिमार्जन गरेपछि मंगलबारदेखि नेपाली अर्थोडक्स चिया पुनः भारततर्फ जान थालेको हो। यससँगै लामो समयदेखि गोदाममा थन्किएको चिया बजारमा पठाउने बाटो खुलेको छ भने चिया उद्योग, किसान र निर्यातकर्तामा राहतको वातावरण बनेको छ।

मंगलबार इलाममा उत्पादित अर्थोडक्स चिया बोकेका दुई ट्रक काँकडभिट्टा भन्सार पार गर्दै भारतको पानीट्याङ्की भन्सार पुगेका छन्। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतीय भन्सारले आवश्यक जाँच पूरा गरेर ती खेपलाई प्रवेश अनुमति दिइसकेको छ।

इलामको फिक्कलस्थित सूर्योदय टी प्रोसेसिङ एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले पनि दुई महिनापछि निर्यात पुनः सुरु भएको पुष्टि गरेका छन्। उनका अनुसार इलामका समल भ्याली र इलाम टी उद्योगबाट एक-एक ट्रक अर्थोडक्स चिया भारत पठाइएको हो।

निर्यात अवरुद्ध हुँदा इलामका चिया उद्योगमा मात्रै करिब १२ लाख किलो अर्थोडक्स चिया गोदाममै थन्किएको थियो। भारतीय बजार बन्द हुँदा उद्योगहरूले उत्पादन रोक्नुपरेको थियो भने किसानले हरियो चियापत्ती बिक्री गर्न कठिनाइ भोगेका थिए।

उद्योगीहरूका अनुसार निर्यात पुनः सुरु भएसँगै गोदाममा रहेको चिया क्रमशः भारत पठाइनेछ। यसले उद्योगको नगद प्रवाह सुधार हुनुका साथै किसानको उत्पादनले पनि बजार पाउने अपेक्षा गरिएको छ।

भारतीय पक्षले यसअघि लागू गरेको कडा परीक्षण प्रणालीलाई परिमार्जन गर्दै अब प्रत्येक पाँच ट्रकमध्ये एउटा ट्रकबाट मात्रै नमुना संकलन गरेर परीक्षण गर्ने व्यवस्था लागू गरेको छ। अर्थात् कुल २० प्रतिशत खेपमा मात्रै ‘र्‍यान्डम’ परीक्षण हुनेछ।

भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणले जोखिममा आधारित परीक्षण प्रणाली लागू गरेपछि सम्पूर्ण खेप रोक्ने अभ्यास हटाइएको उद्योगीहरूको भनाइ छ।

पानीट्याङ्की भन्सारमा परीक्षण प्रयोगशाला नभएकाले नमुना कोलकाता पठाइने भए पनि सबै चिया रोकेर राख्ने व्यवस्था अब नरहने विश्वास गरिएको छ।

निर्यात पुनः खुलेसँगै भारतीय खरिदकर्ताले नेपाली चियाका लागि नयाँ अर्डर दिन थालेका छन्।

नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार भारतीय व्यापारीहरूले अब गुणस्तर परीक्षणको नाममा अनावश्यक रूपमा नेपाली चिया नरोक्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले गुणस्तर परीक्षणका कारण भारतीय गोदाममा रोकिएको करिब दुई लाख ५० हजार किलो नेपाली चिया पनि बजारमा पठाइसकिएको जानकारी दिए।

भारतीय चिया बोर्डले गत वैशाख १८ गतेदेखि नेपालबाट आयात हुने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी)’ लागू गरेको थियो। त्यसपछि प्रयोगशाला परीक्षण अनिवार्य गरिएसँगै नेपाली चियाको निर्यात प्रभावित बनेको थियो।

विरोधपछि केही समयका लागि ‘र्‍यान्डम स्याम्पलिङ’को व्यवस्था गरिए पनि भारतीय अधिकारीहरूले निर्यातकर्ताका गोदाममै पुगेर नमुना संकलन गर्न थालेपछि फेरि निर्यात ठप्प भएको थियो।

यसको प्रत्यक्ष असर इलामका ६५ वटा अर्थोडक्स र झापाका ३० वटा सिटीसी चिया उद्योगमा परेको थियो। उद्योग बन्द हुँदा ३० हजारभन्दा बढी किसान परिवार र एक लाखभन्दा बढी श्रमिक प्रभावित भएका थिए।

नेपालमा वार्षिक करिब ६५ लाख किलो अर्थोडक्स र दुई करोड किलो सिटीसी चिया उत्पादन हुने गर्छ। उत्पादित चियामध्ये करिब ९० प्रतिशत भारतमा निर्यात हुने भएकाले भारतीय नीतिमा हुने सानो परिवर्तनले समेत नेपाली चिया उद्योगमा ठूलो प्रभाव पार्ने गरेको छ।

यसपटक निर्यात पुनः सुरु भएसँगै तत्कालका लागि राहत मिले पनि उद्योगीहरूले यस्ता समस्या दोहोरिन नदिन नेपालले वैकल्पिक अन्तर्राष्ट्रिय बजार विस्तार र आफ्नै गुणस्तर परीक्षण पूर्वाधार सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

रास्वपा केन्द्रीय समितिमा ५१ प्रतिशत महिला निर्वाचित[भिडियाे]

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनले नेपाली पार्टी राजनीतिमा महिला प्रतिनिधित्वका हिसाबले नयाँ इतिहास रचेको छ। महाधिवेशनको निर्वाचनबाट केन्द्रीय समितिमा निर्वाचित हुने सदस्यमध्ये ५१ प्रतिशत महिला रहेका छन्, जुन कुनै पनि नेपाली राजनीतिक दलको महाधिवेशनबाट प्रत्यक्ष निर्वाचनमार्फत केन्द्रीय समितिमा पुगेको अहिलेसम्मकै उच्च महिला सहभागिता हो।

नेपालको संविधानले सार्वजनिक पद तथा राज्यका विभिन्न निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरेको छ। रास्वपाको महाधिवेशनले भने उक्त संवैधानिक न्यूनतम सीमाभन्दा निकै माथि पुग्दै प्रत्यक्ष निर्वाचनबाटै ५१ प्रतिशत महिला केन्द्रीय समितिमा निर्वाचित गराएको छ। यसलाई पार्टीभित्र समावेशी नेतृत्व र लैंगिक प्रतिनिधित्वको उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको छ।

रास्वपाको विधानअनुसार केन्द्रीय समितिमा कुल १५८ सदस्य रहने व्यवस्था छ। त्यसमध्ये कम्तीमा एकतिहाइ अर्थात् ५३ जना महिला अनिवार्य हुनुपर्ने प्रावधान छ। पहिलो चरणमा ९९ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनबाट नै ५० जना महिला निर्वाचित भएका छन्। यससँगै विधानले तोकेको न्यूनतम महिला सहभागिताको लक्ष्य लगभग पूरा भइसकेको छ।

अब पार्टी सभापति रवि लामिछानेले विधानअनुसार ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्नेछन्। मनोनयन प्रक्रियामा पनि उल्लेख्य संख्यामा महिला समेटिने अपेक्षा गरिएको छ। यदि त्यसो भए रास्वपाको नयाँ केन्द्रीय समितिमा महिलाको सहभागिता अझ बढ्नेछ।

विश्लेषकहरूका अनुसार रास्वपाको यो नतिजाले नेपाली राजनीतिमा महिला नेतृत्वको भूमिका थप सशक्त बनाउने संकेत दिएको छ। यसले अन्य राजनीतिक दलहरूलाई पनि नेतृत्व तहमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न प्रेरणा दिन सक्ने अपेक्षा गरिएको छ।

भन्सार छलेर ल्याइएका ३५ थान आइफोन प्रहरीको हातमा परेपछि…

काठमाडौं । रुपन्देही प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छलेर नेपाल भित्र्याइँदै गरिएका एप्पल कम्पनीका ३५ थान आइफोन बरामद गरेको छ। बरामद गरिएका मोबाइल फोनको अनुमानित बजार मूल्य करिब २० लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको प्रहरी टोलीले सोमबार कोटहीमाई गाउँपालिका–५ स्थित बेनिनगर क्षेत्रमा नियमित सुरक्षा जाँचका क्रममा उक्त आइफोन बरामद गरेको हो।

प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ५६ डिएक्स ८८३८ नम्बरको भारतीय मोटरसाइकललाई शंकाको आधारमा रोकेर खानतलासी गर्दा एप्पल कम्पनीका विभिन्न मोडलका ३५ थान आइफोन फेला पारेको थियो। प्रारम्भिक अनुसन्धानबाट ती मोबाइल फोन आवश्यक भन्सार प्रक्रिया पूरा नगरी अवैध रूपमा नेपाल ल्याउन खोजिएको खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बरामद गरिएका आइफोन र प्रयोग गरिएको मोटरसाइकल आवश्यक कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ। भन्सार कार्यालयले अब राजस्व छलीसम्बन्धी कानुनी प्रक्रिया अघि बढाउनेछ।

भारतसँग खुला सीमा जोडिएको रुपन्देही जिल्लामा पछिल्लो समय भन्सार छली गरेर मोबाइल फोन, विद्युतीय सामग्री, लत्ताकपडा तथा अन्य उच्च मूल्यका सामान नेपाल भित्र्याउने प्रयासका घटना बढ्दै गएको भन्दै प्रहरीले सीमा क्षेत्रमा निगरानी थप कडा बनाएको जनाएको छ।

प्रहरीले सीमावर्ती क्षेत्रमा नियमित चेकजाँच, गस्ती तथा सूचनाका आधारमा निगरानीलाई प्रभावकारी बनाइएको उल्लेख गर्दै भन्सार छली र अवैध आयात नियन्त्रणका लागि सुरक्षा निकाय तथा भन्सार कार्यालयबीच समन्वयात्मक अभियानलाई निरन्तरता दिइएको जनाएको छ।

लालपूर्जा र नागरिकता खोज्दै सुस्तावासी आइपुगे काठमाडौं [तस्वीरहरू]

काठमाडौं। लालपूर्जा र नागरिकता उपलब्ध गराउन माग गर्दै नवलपरासी (बर्दघाट सुस्तापूर्व) को सुस्ता क्षेत्रका बासिन्दा काठमाडौं आइपुगेका छन्। आफ्नो समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउन उनीहरूले माइतीघर मण्डलामा अनिश्चितकालीन धर्ना सुरु गरेका हुन्।

सुस्तावासीका अनुसार प्रधानमन्त्रीको ‘नेपालले पनि भारतको सीमा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिपछि भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले सुस्ता क्षेत्रमा प्रवेश गरी स्थानीयलाई धम्क्याउने र मानसिक दबाब दिने गतिविधि बढाएको छ। विशेषगरी पछिल्ला दुई महिनायता भारतीय सुरक्षाकर्मीको हस्तक्षेप बढेको उनीहरूको गुनासो छ।

पहिलो चरणमा करिब ६० परिवारका प्रतिनिधि काठमाडौं आएका छन्। उनीहरूले लालपूर्जा, नागरिकता तथा सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

आन्दोलनमा सहभागी एक स्थानीयले सरकारले आफ्ना मागप्रति बेवास्ता गरे दोस्रो चरणमा थप पीडित परिवार पनि काठमाडौं आएर आन्दोलनमा सहभागी हुने चेतावनी दिए।

उनले भने, ‘वर्षौंदेखि आफ्नै देशमा नागरिकता र लालपूर्जाविहीन भएर बाँचिरहेका छौं। अहिले त भारतीय सुरक्षाकर्मी गाउँमै आएर धम्क्याउन थालेका छन्। भोलि कुनै अप्रिय घटना भयो भने हाम्रो ज्यानको सुरक्षा कसले गर्ने भन्ने चिन्ता बढेको छ।’

सुस्तावासीहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न र सीमा क्षेत्रमा नेपाली नागरिकको सुरक्षा तथा अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।

उपरजिस्ट्रारको निधन, सुनुवाइ स्थगन

काठमाडौं। उच्च अदालत पाटनका उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको मंगलबार बिहान निधन भएको छ।

उच्च अदालत पाटनका सूचना अधिकारी गोविन्द कोइरालाका अनुसार पराजुली बिहान नुहाउन जाने क्रममा अचानक असहज महसुस भएपछि तत्काल भक्तपुरस्थित अस्पताल लगिएको थियो।

अस्पतालमा उपचारका क्रममा उनको निधन भएको कोइरालाले जानकारी दिए। प्रारम्भिक रूपमा हृदयाघातका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको भए पनि आधिकारिक कारण पुष्टि हुन बाँकी रहेको उनले बताए।

‘बिहान नुहाउन जाने क्रममा उहाँलाई असहज महसुस भएको थियो। त्यसपछि अस्पताल लगियो, तर उपचारकै क्रममा निधन भयो। हृदयाघात भएको हुन सक्ने प्रारम्भिक अनुमान छ’, कोइरालाले भने।

पराजुलीको निधनपछि शोकस्वरूप उच्च अदालत पाटनका मंगलबारका सबै इजलास तथा सुनुवाइ स्थगित गरिएको अदालतले जनाएको छ।

उनको अन्त्येष्टि पशुपतिनाथ मन्दिर परिसरस्थित आर्यघाटमा गर्ने तयारी गरिएको छ।

जुम्ला बन्यो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला

जुम्ला । जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ।

जिल्ला खोप समन्वय समितिले आयोजना गरेको कार्यक्रममा एक नगरपालिका र सात गाउँपालिकासहित आठवटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपनायुक्त घोषणा गरिएको हो।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरणकुमार शर्माका अनुसार चालु आर्थिक वर्षमा १५ महिनासम्मका दुई हजार ६८ र १६ देखि २३ महिनासम्मका तीन हजार ३६४ बालबालिकाले सबै प्रकारका खोप प्राप्त गरेपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपककुमार पौडेलले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि नियमित खोप अपरिहार्य रहेको बताए। जिल्ला खोप समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र स्थानीय तहको योगदानले अभियान सफल भएको बताए।

जिल्लाभर ८९ वटा खोप केन्द्र सञ्चालनमा रहेका छन्। कार्यक्रममा आठवटै स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान गरिएको थियो।

कालिमाटी तरकारी बजारमा रायोको सागमा अत्यधिक विषादी भेटिएपछि…

काठमाडौं। काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको भक्तपुरको रायोको सागमा तोकिएको मापदण्डभन्दा धेरै विषादी अवशेष फेला परेको छ। परीक्षणमा अत्यधिक विषादी देखिएपछि उक्त सागलाई उपभोगका लागि अयोग्य ठहर गर्दै नष्ट गर्ने निर्णय गरिएको छ।

कृषि विभागअन्तर्गतको केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले मंगलबार बिहान गरेको परीक्षणमा भक्तपुरको मध्यपुर थिमी नगरपालिकाबाट ल्याइएको रायोको सागमा अर्गानोफस्फेट समूहको विषादीको मात्रा अत्यधिक रहेको पाइएको हो।

प्रयोगशालाले सार्वजनिक गरेको परीक्षण प्रतिवेदनअनुसार उक्त रायोको सागमा अर्गानोफस्फेट विषादीको अवशेष ५०.०१६० प्रतिशत मापन गरिएको छ। यो मात्रा स्वीकृत सीमाभन्दा माथि रहेकाले सागलाई ‘विसर्जन गर्ने’ अर्थात् पूर्ण रूपमा नष्ट गर्नुपर्ने श्रेणीमा वर्गीकरण गरिएको प्रयोगशालाले जनाएको छ।

प्रयोगशालाको मापदण्डअनुसार ४५ प्रतिशतभन्दा बढी विषादी अवशेष भेटिएका तरकारी तथा कृषि उपज उपभोगका लागि अयोग्य मानिन्छन् र बजारमा बिक्री वितरण गर्न नपाइने व्यवस्था छ।

प्रयोगशालाले आज विभिन्न स्थानबाट सङ्कलन गरिएका १२ वटा तरकारीका नमुनाको परीक्षण गरेको थियो। परीक्षणमा रायोको साग, हरियो प्याज, निगुरो, काँक्रो, हरियो धनियाँ, घिरौँला, गोलभेँडालगायतका नमुना समावेश थिए।

तीमध्ये भक्तपुरबाट ल्याइएको रायोको सागमा मात्रै अत्यधिक विषादी भेटिएको हो। बाँकी ११ वटा नमुनामा भने विषादीको मात्रा स्वीकृत सीमाभित्र रहेकाले ती उपभोगका लागि सुरक्षित रहेको प्रयोगशालाले जनाएको छ।

प्रयोगशालाले विषादीको अवशेषका आधारमा कृषि उपजलाई तीन श्रेणीमा वर्गीकरण गर्दै आएको छ।

३५ प्रतिशतभन्दा कम विषादी अवशेष भएका तरकारी उपभोगका लागि सुरक्षित मानिन्छन्। ३५ देखि ४५ प्रतिशतसम्म विषादी देखिएमा त्यस्ता तरकारीलाई केही समय क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गरिन्छ। तर ४५ प्रतिशतभन्दा बढी विषादी अवशेष फेला परेमा त्यस्ता तरकारीलाई मानव उपभोगका लागि अयोग्य ठहर गरी पूर्ण रूपमा नष्ट गर्ने व्यवस्था रहेको छ।

प्रयोगशालाले नियमित रूपमा बजारमा बिक्रीका लागि आएका तरकारी तथा फलफूलको विषादी परीक्षण गर्दै आएको छ। यद्यपि हालको द्रुत परीक्षण प्रणाली कार्बामेट र अर्गानोफस्फेट समूहका कीटनाशक विषादीको अवशेष पहिचानमा मात्रै केन्द्रित रहेको प्रयोगशालाले स्पष्ट पारेको छ।

यस प्रकारका नियमित परीक्षणले बजारमा सुरक्षित खाद्यवस्तुको उपलब्धता सुनिश्चित गर्न तथा अत्यधिक विषादी प्रयोग भएका कृषि उपज उपभोक्तासम्म पुग्न नदिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

२०२६ का विश्वका शक्तिशाली १० देश, सूचीमा कुन-कुन राष्ट्र?

काठमाडौं। विश्वका राष्ट्रहरूको सैन्य क्षमता, रक्षा पूर्वाधार, आर्थिक सामर्थ्य, जनशक्ति, हतियार प्रणाली, प्रविधि, रसद व्यवस्थापन तथा युद्ध सञ्चालन क्षमतालगायतका विभिन्न सूचकका आधारमा तयार गरिने ‘ग्लोबल फायर इन्डेक्स-२०२६’ ले विश्वका सबैभन्दा शक्तिशाली देशहरूको नयाँ श्रेणीकरण सार्वजनिक गरेको छ।

विश्वभरका ६० भन्दा बढी मापदण्डलाई आधार बनाएर गरिएको मूल्याङ्कनमा यस वर्ष पनि संयुक्त राज्य अमेरिका पहिलो स्थानमा कायम रहेको छ। सूचीमा रुस दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन् भने भारत चौथो र दक्षिण कोरिया पाँचौँ स्थानमा परेको छ।

ग्लोबल फायर इन्डेक्सले कुनै देशको सैन्य शक्ति निर्धारण गर्दा केवल सैनिक सङ्ख्या वा हतियारको परिमाण मात्र होइन, वायु, स्थल र जल सेनाको क्षमता, रक्षा बजेट, घरेलु रक्षा उद्योग, रणनीतिक स्रोत, भौगोलिक अवस्था, रसद व्यवस्थापन, औद्योगिक उत्पादन, ऊर्जा स्रोत तथा युद्धकालीन तयारीजस्ता विभिन्न पक्षको संयुक्त मूल्याङ्कन गर्ने गरेको छ।

अमेरिका

सूचीको पहिलो स्थानमा रहेको अमेरिका अहिले पनि विश्वको सबैभन्दा शक्तिशाली राष्ट्रका रूपमा रहेको छ। रक्षा क्षेत्रमा अमेरिकाको वार्षिक बजेट संसारकै सबैभन्दा ठूलो मानिन्छ। अत्याधुनिक लडाकु विमान, परमाणु हतियार, विमानवाहक युद्धपोत, विश्वव्यापी सैन्य अड्डा तथा आधुनिक प्रविधिको प्रयोगले अमेरिकी सैन्य शक्ति अन्य मुलुकभन्दा फरक स्तरमा पुगेको मानिन्छ।

हाल अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा अमेरिकाले चीनको तीव्र सैन्य विस्तारलाई प्रमुख रणनीतिक चुनौतीका रूपमा हेरिरहेको छ। साथै, युक्रेन युद्धपछि आफ्नो सैन्य क्षमता पुनः सुदृढ बनाउन लागिरहेको रुसको गतिविधिलाई पनि अमेरिकाले नजिकबाट नियालिरहेको छ।

रुस

दोस्रो स्थानमा रहेको रुससँग विश्वकै सबैभन्दा ठूलो परमाणु हतियार भण्डार रहेको मानिन्छ। युक्रेनसँगको लामो युद्धका कारण ठूलो सैन्य तथा आर्थिक दबाब सामना गर्नुपरे पनि रुस अझै विश्वका प्रमुख सैन्य शक्तिमध्ये एकका रूपमा कायम छ।

रुसले आफ्ना मिसाइल प्रणाली, वायु प्रतिरक्षा, लामो दूरीका आक्रमण क्षमता तथा रणनीतिक हतियार प्रणालीलाई निरन्तर आधुनिकीकरण गरिरहेको छ। यद्यपि सक्रिय रूपमा तैनाथ गरिएका परमाणु हतियारको सङ्ख्यामा अमेरिका अगाडि रहेको बताइन्छ।

चीन

तेस्रो स्थानमा रहेको चीन पछिल्ला दुई दशकमा सबैभन्दा तीव्र गतिले सैन्य शक्ति विस्तार गर्ने राष्ट्रमध्ये एक बनेको छ। चीनसँग जहाजको सङ्ख्याका आधारमा विश्वकै सबैभन्दा ठूलो नौसेना रहेको छ भने वायुसेना पनि विश्वका शक्तिशाली वायु सेनामध्ये पर्दछ।

आणविक हतियारको सङ्ख्यामा अमेरिका र रुसभन्दा पछाडि भए पनि चीनले आधुनिक युद्धपोत, स्टेल्थ लडाकु विमान, हाइपरसोनिक मिसाइल, कृत्रिम बुद्धिमत्ता तथा अन्तरिक्ष प्रविधिमा ठूलो लगानी गर्दै आफ्नो सैन्य क्षमता निरन्तर विस्तार गरिरहेको छ।

भारत

विश्वको चौथो शक्तिशाली राष्ट्रका रूपमा रहेको भारतले पछिल्ला वर्षहरूमा आफ्नो रक्षा प्रणालीमा व्यापक सुधार गरेको छ। विशाल सैनिक जनशक्ति, बढ्दो रक्षा बजेट तथा स्वदेशी हतियार उत्पादनलाई भारतले प्राथमिकतामा राखेको छ।

भारतको वायुसेना, नौसेना र स्थलसेनाले आधुनिक उपकरण तथा प्रविधि अपनाउँदै आएका छन्। ब्रह्मोसजस्ता सुपरसोनिक क्षेप्यास्त्रदेखि स्वदेशी रक्षा प्रणालीसम्म भारतले उल्लेखनीय प्रगति गरेको छ। हालै सञ्चालन गरिएको ‘अपरेशन सिन्दूर’ का क्रममा भारतले आफ्नो सैन्य तयारी र सञ्चालन क्षमता प्रदर्शन गरेको उल्लेख गरिएको छ।

दक्षिण कोरिया

पाँचौँ स्थानमा रहेको दक्षिण कोरियाले उत्तर कोरियाबाट उत्पन्न सुरक्षा जोखिमलाई ध्यानमा राख्दै रक्षा क्षेत्रमा निरन्तर लगानी गरिरहेको छ। परमाणु हतियार नभए पनि अत्याधुनिक लडाकु विमान, मिसाइल प्रतिरक्षा प्रणाली, नौसैनिक क्षमता तथा स्वदेशी रक्षा उद्योगका कारण दक्षिण कोरिया विश्वका प्रभावशाली सैन्य शक्तिमध्ये एक बनेको छ।

अमेरिकासँगको दीर्घकालीन सुरक्षा सहकार्यका कारण दक्षिण कोरियाको सैन्य संरचनामा अमेरिकी प्रविधि र हतियारको महत्वपूर्ण योगदान रहेको छ।

फ्रान्स

छैटौँ स्थानमा रहेको फ्रान्स नाटो तथा संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्थायी सदस्य हो। आधुनिक रक्षा प्रविधि, परमाणु क्षमता तथा स्वदेशी हतियार उत्पादनका कारण फ्रान्स विश्वको अग्रणी सैन्य शक्तिमध्ये पर्दछ।

राफेल लडाकु विमान, एम–५१ परमाणु मिसाइल, एएसएमपी–ए आणविक क्रुज मिसाइल, स्क्याल्प तथा उल्का मिसाइलजस्ता अत्याधुनिक हतियार प्रणाली फ्रान्सको सैन्य शक्तिका मुख्य आधार हुन्। परमाणु ऊर्जाबाट सञ्चालित विमानवाहक युद्धपोत सञ्चालन गर्ने सीमित राष्ट्रहरूमध्ये फ्रान्स पनि एक हो।

जापान

सातौँ स्थानमा रहेको जापानले आफ्नो सेनालाई ‘आत्मरक्षा बल’ नाम दिए पनि यसको सैन्य क्षमता निकै उन्नत मानिन्छ। चीन र रुससँग समुद्री सीमासम्बन्धी विवादका कारण जापानले रक्षा तयारीलाई उच्च प्राथमिकतामा राखेको छ।

ट्यांक, युद्धपोत, रडार प्रणाली, क्षेप्यास्त्र प्रतिरक्षा तथा अत्याधुनिक प्रविधिको प्रयोगमा जापान विश्वका विकसित सैन्य राष्ट्रहरूमध्ये एक मानिन्छ।

बेलायत

बेलायत आठौँ स्थानमा रहेको छ। नाटो तथा संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्थायी सदस्य रहेको बेलायतसँग परमाणु शक्ति सञ्चालित पनडुब्बी तथा विमानवाहक युद्धपोत सञ्चालन गर्ने क्षमता छ।

अमेरिकासँगको घनिष्ठ रक्षा सहकार्य, आधुनिक वायुसेना तथा विश्वव्यापी सैन्य उपस्थितिका कारण बेलायतले आफ्नो प्रभाव कायम राख्दै आएको छ।

टर्की

नवौँ स्थानमा रहेको टर्कीले पछिल्ला वर्षहरूमा आफ्नो रक्षा उद्योगलाई तीव्र रूपमा विस्तार गरेको छ। विशेषगरी स्वदेशी ड्रोन उत्पादनका कारण टर्कीले अन्तर्राष्ट्रिय बजारमा अलग पहिचान बनाएको छ।

नाटो सदस्य राष्ट्रसमेत रहेको टर्कीले आफ्नै उत्पादनका विभिन्न हतियार प्रणाली विकास गर्दै आएको छ। पश्चिमी वा रुसी हतियार खरिद गर्न कठिनाइ भएका देशहरूका लागि टर्की वैकल्पिक आपूर्तिकर्ताका रूपमा पनि स्थापित हुँदै गएको छ।

इटाली

दशौँ स्थानमा रहेको इटाली युरोपको महत्वपूर्ण सैन्य शक्तिमध्ये एक हो। आधुनिक नौसैनिक क्षमता, वायुसेना तथा नाटोका सदस्य राष्ट्रहरूसँगको सहकार्यमा विकसित हतियार प्रणालीका कारण इटालीले अन्तर्राष्ट्रिय रक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

ग्लोबल फायर इन्डेक्सले स्पष्ट रूपमा सैन्य शक्ति मूल्याङ्कन गर्दा केवल सैनिक सङ्ख्या वा परमाणु हतियारलाई आधार नबनाई समग्र राष्ट्रिय क्षमता, आर्थिक स्रोत, रक्षा उद्योग, रणनीतिक पूर्वाधार, रसद व्यवस्थापन, भौगोलिक अवस्था, ऊर्जा उपलब्धता तथा युद्ध सञ्चालन क्षमतालाई संयुक्त रूपमा विश्लेषण गर्ने गरेको जनाएको छ।

त्यसैले कुनै देशसँग धेरै सैनिक वा धेरै हतियार हुनु मात्र शक्तिशाली राष्ट्र बन्न पर्याप्त मानिँदैन। दीर्घकालीन युद्ध सञ्चालन क्षमता, प्रविधि, आर्थिक सामर्थ्य र रणनीतिक तयारीले पनि विश्व शक्ति सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्ने गर्छ।

श्रीलंकामा डिजेल-पेट्रोलको मूल्य घट्यो

एजेन्सी। मध्यपूर्व क्षेत्रमा युद्धविरामको सहमतिपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेसँगै श्रीलंकाले पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

आयातित इन्धनमा पूर्ण रूपमा निर्भर रहेको श्रीलंकाले मंगलबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्यमा करिब ६ प्रतिशतसम्म कटौती गरेको हो।

श्रीलंका पेट्रोलियम कर्पोरेसनका अनुसार प्रतिलिटर डिजेलको मूल्य २५ श्रीलंकाली रुपैयाँ घटाएर ३८२ रुपैयाँ कायम गरिएको छ भने पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएर ४१४ रुपैयाँ निर्धारण गरिएको छ।

केही महिनायता बढ्दो ऊर्जा लागतका कारण मूल्यवृद्धिको मार खेपिरहेका उपभोक्ताका लागि यो राहतस्वरूप आएको निर्णय मानिएको छ।

यो निर्णय अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्न वार्ता अघि बढाउने सहमति भएपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा आएको सकारात्मक प्रभावसँग जोडिएको छ। युद्धको जोखिम कम हुने संकेतसँगै विश्व बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा घटेपछि त्यसको प्रत्यक्ष प्रभाव इन्धन आयात गर्ने मुलुकहरूमा देखिन थालेको हो।

यसअघि फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा उकालो लागेको थियो। त्यसको असर श्रीलंकामा पनि परेको थियो, जहाँ सरकारले पेट्रोल र डिजेलको मूल्य करिब ५० प्रतिशतसम्म बढाएको थियो। बढ्दो आयात लागत व्यवस्थापन गर्न सरकारले विद्युत् महसुलसमेत करिब एक तिहाइले वृद्धि गरेको थियो।

श्रीलंकाले आफ्ना सबै पेट्रोलियम पदार्थ विदेशबाट आयात गर्छ। विद्युत् उत्पादनका लागि आवश्यक कोइलासमेत आयात गर्नुपर्ने भएकाले मध्यपूर्वमा उत्पन्न हुने कुनै पनि भू-राजनीतिक तनावले त्यहाँको ऊर्जा आपूर्ति र अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने गरेको छ।

हालैको युद्धविराम र त्यसपछि आएको मूल्य गिरावटले भने श्रीलंकाको ऊर्जा लागत केही सहज बनाउने अपेक्षा गरिएको छ।

‘संसद्को स्तर खस्किएको’ स्वीकार्दै कानुनमन्त्री गौतमले गरिन् आत्मसमीक्षाको आह्वान

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्को प्रभावकारिता, मर्यादा र जनविश्वास पुनः स्थापित गर्न सांसदहरूले आफ्नै कार्यशैली, आचरण र प्राथमिकतामाथि गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएकी छन्।

६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले संसद् जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्था भएकाले त्यसको गरिमा जोगाउने जिम्मेवारी सबै सांसदको सामूहिक दायित्व भएको स्पष्ट पारिन्।

उनले पछिल्ला वर्षहरूमा संसद्को गुणस्तर खस्किएको भन्ने जनधारणा बढ्दै गएको स्वीकार गर्दै यसको कारण बाहिर नभई संसद्भित्रकै अभ्यास, व्यवहार र प्राथमिकतामा खोजिनुपर्ने धारणा राखिन्। संसद्को समय प्रक्रियागत विवाद, आरोप-प्रत्यारोप वा अनावश्यक विषयमा खर्चिनुभन्दा जनताका वास्तविक समस्या समाधानका विषयमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिइन्।

मन्त्री गौतमका अनुसार संसदीय अभ्यासको मूल उद्देश्य सरकारलाई जवाफदेही बनाउनु, प्रभावकारी कानुन निर्माण गर्नु र जनताका आवाजलाई संस्थागत रूपमा उठाउनु हो। त्यसैले संसद्को प्रत्येक बैठक जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

उनले प्रक्रियागत तथा प्राविधिक विषयहरू कार्यव्यवस्था परामर्श समिति, दलहरूबीचको छलफल वा अन्य अनौपचारिक संयन्त्रमार्फत समाधान गर्न सकिने उल्लेख गर्दै सदनको बहुमूल्य समय त्यस्ता विषयमा खर्चिनु उपयुक्त नहुने तर्क गरिन्। संसद् बैठकमा प्रवेश गरिसकेपछि शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन, सेवा प्रवाह, विकास निर्माण र नागरिकका दैनिक समस्याजस्ता जनसरोकारका मुद्दालाई प्राथमिकता दिनुपर्ने उनले बताइन्।

जनताले तिरेको करबाट राज्य सञ्चालन हुने र त्यही करबाट संसद्को सम्पूर्ण खर्च व्यवस्थापन हुने स्मरण गराउँदै मन्त्री गौतमले सांसदले बोल्ने प्रत्येक मिनेटको प्रत्यक्ष उत्तरदायित्व नागरिकप्रति हुने उल्लेख गरिन्। जनताले आफ्ना प्रतिनिधिलाई व्यक्तिगत वा दलगत स्वार्थका लागि नभई आफ्ना समस्या उठाउन संसद्मा पठाएको विश्वासलाई व्यवहारबाट प्रमाणित गर्नुपर्ने उनको भनाइ थियो।

उनले संसद्को प्रभावकारिता बहसको सङ्ख्याले नभई बहसको गुणस्तरले निर्धारण हुने बताइन्। सरकारले गरेका कामको प्रभावकारी समीक्षा, आवश्यक कानुनी सुधार र नागरिकको जीवनस्तर उकास्ने नीति निर्माणतर्फ सांसदहरूको ध्यान केन्द्रित हुनुपर्नेमा उनले जोड दिइन्।

संसद्को गरिमा केवल कानुन र नियमले मात्र सुरक्षित नहुने उल्लेख गर्दै मन्त्री गौतमले सांसदहरूको व्यक्तिगत व्यवहार, बोल्ने भाषा, प्रयोग गरिने शब्द, प्रस्तुतिको शैली र पोसाकसम्मले संसद्को छवि निर्माण गर्ने बताइन्। संसद् जनताले सम्मानका साथ हेर्ने संस्था भएकाले त्यहाँ उपस्थित हुने प्रत्येक सांसदले आफ्नो आचरणबाट त्यसको मर्यादा जोगाउनुपर्ने उनको धारणा थियो।

उनले संसद्को प्रतिष्ठा कमजोर हुनु लोकतान्त्रिक व्यवस्थाप्रतिको जनविश्वास कमजोर हुनु पनि भएको उल्लेख गर्दै सांसदहरूले आफ्ना व्यवहारमा सुधार ल्याए संसद्प्रति नागरिकको दृष्टिकोण स्वतः सकारात्मक बन्ने विश्वास व्यक्त गरिन्।

मन्त्री गौतमले संसद्लाई जनताको सर्वोच्च थलोका रूपमा व्यवहारमै स्थापित गर्न सबै सांसदलाई आग्रह गर्दै आफू पनि संसद्को मर्यादा, अनुशासन र जिम्मेवारी पालनाका लागि शतप्रतिशत प्रतिबद्ध रहने सार्वजनिक प्रतिबद्धता व्यक्त गरिन्।