`

अर्जुनले ल्याए सिर्जना र विवेकको प्रेमकथामा बनेको म्युजिक भिडियो ‘तेरी मेरी कहानी’

काठमाडौं । निःस्वार्थ प्रेमको अतुलनीय उदाहरण बनेका सिर्जना सुवेदी र विवेक पंगेनीको सम्मानमा बनेको हिन्दी गीत ‘तेरी मेरी कहानी’को म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ । अर्जुन कटुवालले निर्माण गरेको म्युजिक भिडियो आइतबार एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।

ब्रेन क्यान्सरका कारण विवेकको निधन भएको वर्ष दिनको तिथि पारेर गीत रिलिज गरिएको हो । विवेकको उपचार चलिरहेको समयमा अमेरिकाबाट सिर्जनाले पोस्ट गर्ने भिडियोहरु नेपाल र भारतमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले धेरै मन पराएका थिए । बिरामी विवेकलाई सिर्जनाले दिएको प्रेमलाई धेरैले निस्वार्थ प्रेमको उदाहरणका रुपमा लिएका छन् ।

मानव कौलको शब्द रचनामा तयार भएको गीतको संगीत संयोजन गरेका कटुवालले गीतमा स्वर पनि दिएका छन् । गीतमा कटुवालसँगै पम्फा चाम्लिङ र सोनिया उपाध्यायको पनि स्वर रहेको छ । चर्चित टिकटकर वर्षा श्रेष्ठ र निमेष श्रेष्ठको मोडलिङ रहेको म्युजिक भिडियो निर्देशन आयुष महर्जनले गरेका हुन् ।

सिर्जना र विवेकको प्रेमकथाले निस्वार्थ प्रेमको अतुलनीय उदाहरण प्रस्तुत गरेकाले अरुलाई पनि यसले प्रेरणा मिलोस् भन्ने उद्देश्यले यो गीत बनाएको निर्माता, संगितकार र गायक कटुवालले बताए । ‘उहाँहरूको प्रेम नेपालमा जस्तै भारतमा पनि चर्चित रहेको कारण मैले हिन्दीमा गीत गरेको हुँ,’ अर्जुन भन्छन्, ‘भविष्यमा यसलाई नेपालीमा पनि बनाउने सोचिरहेको छु ।’

सिर्जनाले भोगेको दुःख केही मात्रामा भए पनि दर्शकले महसुस गरुन् भन्ने चाहना रहेको उनले बताए । वरिष्ठ गायक तथा संगीतकार आनन्द कार्कीले गीतको म्युजिक भिडियोले आफ्नो मन छोएको भन्दै प्रशंसा गरे । कटुवाल बलिउडमा काम गरिरहेका नेपाली युवा संगीतकार हुन् । उनले रिसव सेठ्ठीको चर्चित भारतीय चलचित्र कान्तारा लगायतका चलचित्रमा पनि काम गरिसकेका छन् । यस्तै, हद से, हक हे तेरा लगायत आधा दर्जन हिन्दी गीत पनि दर्शकसामु ल्याइसकेका छन् ।

 

 

कर्णालीद्वारा जनकपुर पराजित

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ । जितका लागि पाएको १३० रनको लक्ष्य पछ्याएको जनकपुरको पारी २० ओभरमा ६ विकेटको क्षतिमा १२६ रनमा समेटियो ।

कर्णाली याक्सका लागि इमरान शेखले सर्वाधिक ३३ रन बनाए । बलिङतर्फ जनकपुरका लागि आदित्य महता र ललितनारायण राजवंशीले दुई दुई विकेट लिए ।
यसैगरी जनकपुर बोल्ट्सका लागि ब्याटिङ गर्ने क्रममा सञ्जय कृष्णमुर्तिले अर्धशतकीय पारी खेल्दै ५१ रन बनाए । बलिङतर्फ कर्णाली याक्सका लागि विलियम विसिस्टोले २ विकेट लिए ।

पोखरा विमानस्थल भ्रष्टाचार : अख्तियारका ४० तथ्यसहित यस्तो छ आरोप–पत्र (पूर्णपाठ)

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा व्यापक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आइतबार विशेष अदालतमा दर्ता गरिएको यो मुद्दामा पाँच जना तत्कालीन मन्त्रीदेखि चीनको ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङसम्मलाई प्रतिवादी बनाइएको छ । आयोगले उनीहरूलाई करिब ८ अर्ब ३६ करोड रुपैयाँभन्दा धेरै राज्यको धन हानी–नोक्सानी गराएको आरोपसमेत लगाएको छ ।

मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका निर्णय प्रक्रियामा संलग्न पूर्वमन्त्रीहरू—स्वर्गीय पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य र दीपक चन्द्र अमात्य, साथै तत्कालीन अर्थमन्त्री रामशरण महतसहितका उच्च पदस्थ अधिकारीहरू मुद्दामाथि तानिएका छन् । प्राधिकरणका तत्कालीन महानिर्देशक त्रिरत्न महर्जन, रतीशचन्द्र लाल सुमन र प्रदीप अधिकारी पनि प्रतिवादीका रूपमा सम्मिलित छन् । बोगटीको निधन भइसकेकाले कानूनी कारणवश उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी राखिएको छ ।

आयोगको दाबीअनुसार विमानस्थल निर्माणका लागि प्रारम्भिक रूपमा १६ करोड ९६ लाख ९७ हजार अमेरिकी डलरको लागत अनुमान स्वीकृत थियो । तर कुनै ठोस आधारबिना उक्त रकम अस्वाभाविक रूपमा ७ करोड ४३ लाख ४३ हजार ४५० डलरले बढाइएको र संशोधित लागत २४ करोड ४० लाख ४० हजार ४५० डलर कायम गरिएको बताइएको छ । मूल्य वृद्धि स्वीकृत गराउने, ठेक्का सम्झौतामा हस्तक्षेप गर्ने र ठेकेदार कम्पनीलाई आर्थिक लाभ पुग्ने निर्णयहरूमा प्रतिवादीहरूको प्रत्यक्ष वा परोक्ष संलग्नता रहेको आयोगको ठहर छ ।

चीनको सीएएमसी इन्जिनियरिङ कम्पनी र त्यहाँका दुई कर्मचारीलाई समेत लागत कृत्रिम रूपमा फुलाइ परियोजनाको खर्च बढाएको आरोपमा मुद्दा दायर गरिएको छ । अख्तियारले आफ्नो विस्तृत अनुसन्धानका आधारमा ४० वटा निष्कर्षहरू उद्धृत गर्दै पोखरा विमानस्थल निर्माण प्रक्रिया नियमन, मूल्यांकन र स्वीकृतिका हरेक चरणमा अनियमितता क्रमबद्ध ढंगले भएको देखिएको उल्लेख गरेको छ ।

यसअघि प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको उपसमितिले पनि सो परियोजनामा गम्भीर अनियमितता रहेको देखाउँदै अख्तियारलाई अनुसन्धान अघि बढाउन निर्देशन दिएको थियो । आयोगले दायर गरेको यो मुद्दा हालसम्म विमानस्थल निर्माणसम्बन्धी सबैभन्दा ठुलो भ्रष्टाचार प्रकरणका रूपमा चर्चामा आएको छ ।

पूर्णपाठ

भारतमा पुटिनको सम्मानमा झोल मोमोदेखि जाफरानी पनिर रोलसम्म

भारत । भारतको राष्ट्रपति भवनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको सम्मानमा आयोजित विशेष राज्य–भोजमा भारतीय सांस्कृतिक विविधता झल्किने परिकारहरूको आकर्षक ‘थाली–शैली’ प्रस्तुत गरिएको छ । राष्ट्रपति द्रौपदी मुर्मूले आयोजना गरेको यस भव्य डिनरमा भारतका विभिन्न राज्यको पाक–संस्कृतिलाई एउटै थालीमा समेटिएको थियो ।

सुपदेखि लिएर मिठाईसम्म, हरेक परिकारले भारतीय स्वादको समृद्धि र विविधतालाई उजागर गरेको थियो । रात्रिभोजको सुरुवात मुरुंगेलै चारूबाट गरियोएको थियो । जुन सहजन (ड्रमस्टिक) का पात र मूंग दाल मिसाएर बनाइने हल्का तर पौष्टिक सूप हो । यसमा करी पातका बीउले पारम्पारिक दक्षिण भारतीय स्पर्श दिइएको थियो ।

तीन परिकारमध्ये पहिलो थियो गुच्ची दून चेटिन । कश्मीरमा पाइने दुर्लभ मोरल मसरूमलाई अखरोटको विशेष चटनीसँग तयार गरिएको यो व्यञ्जनले हिमाली स्वादको अनौठो अनुभूति दिलायो । दोस्रो कालो चनाको सिकम्पुरी थियो ।

प्यानमा सेकिएको मुलायम चनाको कबाबलाई पुदिनाको चटनी र मिठो शिरमल रोटी (ब्रेड) पस्किएको थियो । जसले उत्तर भारतीय स्वादलाई सँगसँगै प्रस्तुत गर्‍यो। तेस्रो भेटिटेबल झोल मोमो थियो । जसलाई मसालेदार टमाटरको ‘झोल’ सँग बनाइएको थियो । यसले भारतीय र नेपाली–पहाडी स्वादको रमाइलो मिश्रण प्रस्तुत गरेको थियो ।

मधेसमा एमालेको सरकारले गरेका सबै निर्णयहरु बदर

जनकपुर । मधेस प्रदेश सरकारले मिति कार्तिक २३ देखि मंसिर १७ गतेसम्मको अवधिमा बसेका मन्त्रिपरिषद् बैठकहरुबाट भएका सम्पूर्ण सरुवा, काज, जिम्मेवारी हेरफेर र थप जिम्मेवारी तोक्ने लगायतका सरुवा-काजसँग सम्बन्धित निर्णयहरू बदर गरेको छ ।

कार्तिक २३ मा गठित मन्त्रिपरिषद्को कार्यकालमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयहरूवाट भएका कर्मचारीहरूको सरुवा, काज, जिम्मेवारी हेरफेर र थप जिम्मेवारी तोक्ने लगायतका सरुवा÷काजसंग सम्बन्धित सम्पूर्ण निर्णयहरू बदर गर्ने निर्णय भएको हो । एमालेको सरकार हुँदा गरेका सम्पूर्ण निर्णयहरु बदर गर्ने निर्णय भएको मधेस प्रदेश सरकारका मन्त्री कनिष पटेलले जानकारी दिए ।

मधेस प्रदेश सरकारले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, मधेस प्रदेशका प्रदेशसचिव जयकुमार घिमिरेलाई अर्को व्यवस्था नभएसम्मका लागि आफ्नो साविकको जिम्मेवारीका अतिरिक्त मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासनिक तथा आर्थिक अधिकारसहित निमित्त प्रमुख सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै प्रदेश सरकारबाट कडा रोग (क्यान्सर, मिर्गौला, मुटु रोग आदि) का विरामीहरूलाई प्रदान गरिँदै आएको औषधोपचार आर्थिक सहायता वितरण कार्यलाई निरन्तरता दिई तत्काल सुचारु गर्ने कार्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुचारु गर्ने र सो प्रयोजनका लागि चालु आर्थिक वर्षमा विनियोजित रकम अपुग हुन गएमा आवश्यक पर्ने थप बजेट तथा स्रोतको व्यवस्थापन अर्थ मन्त्रालयले, मधेश प्रदेशले प्राथमिकताका साथ उपलब्ध गराउने निर्णय गरेको छ ।

मधेस प्रदेश बाढी, डुबान, आगलागी लगायतका विपद्को उच्च जोखिममा रहेको र हाल शीतलहरको मौसम समेत शुरु हुन लागेको सन्दर्भमा सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्युनिकरण गर्न विपद् पूर्वतयारी, खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई थप चुस्त र प्रभावकारी बनाउन सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवालाहरूसँग आवश्यक समन्वय एवं सहजीकरणको कार्य गृह, सञ्चार तथा कानून मन्त्रालय, मधेश प्रदेशले तत्काल अगाडि बढाउने निर्णय भएको छ ।

मधेस प्रदेश सरकारको अधिकार क्षेत्रभित्रका विषयहरूमा कार्य सम्पादनलाई थप प्रभावकारी, नतिजामुखी र जनउत्तरदायी बनाउन अपरिहार्य देखिएका तर तर्जुमा हुन बाँकी रहेका नयाँ कानूनहरू (ऐन-नियम) को मस्यौदा शिघ्र तयार गर्ने तथा विद्यमान कानूनहरूमा समयानुकुल सुधार गर्नुपर्ने भए सोको संशोधन प्रक्रिया समेत तत्काल प्रारम्भ गर्न सबै मन्त्रालय तथा निकायहरूले तदारुकताका साथ कार्य अगाडि बढाउने निर्णय भएको बताए ।

संसद् पुनःस्थापनाको माग लिएर कांग्रेस पनि पुग्यो सर्वोच्च

काठमाडौं ।  संसद् पुनःस्थापनाको माग लिएर नेपाली कांग्रेस पनि सर्वोच्च अदालत गएको छ । कांग्रेस पूर्व प्रमुख सचेतक श्याम घिमिरेका अनुसार कांग्रेस पनि संसद् पुनःस्थापनाको माग लिएर सर्वोच्च गएको हो ।

“प्रमुख सचेतक र सचेतकको हस्ताक्षर लिएर हामी सर्वोच्च गएका हौँ,” उनले भने । उनका अनुसार पूर्वमहान्यायाधीवक्ता खम्म खातीलाई वारेसमार्फत् पठाइएको छ । “हामीले उहाँलाई वारेसमार्फत् पठाएका हौँ,” उनले भने ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभा विघटनलाई असंवधौनिक भनेको थियो। यसअघि नेकपा (एमाले)ले पनि प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।

विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने

काठमाडौं। काठमाडौं महानगरपालिका क्षेत्रभित्रको विद्युतीय तार भूमिगत गर्ने काम नेपाल विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा अगाडि बढाइने भएको छ ।

तारलाई भूमिगत गर्ने काममा फिल्डमा देखिएका समस्या समाधानका लागि आवश्यक अनुगमन र समन्वय गर्न प्राधिकरणका निर्देशक र महानगरपालिका सार्वजनिक निर्माण विभागका प्रमुखलाई तोकिएको छ ।

सडक विभाग, काठमाडौं महानगरपालिकालगायतका निकायबाट सहमति प्राप्त नहुँदा, निर्माण व्यवसायीबाट काम सम्पन्न भएपछि सडकलाई मर्मत नगरेकोजस्ता गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार प्राधिकरणका कार्यकारी निर्देशक, आयोजना प्रमुख, महानगरपालिका प्रतिनिधि र निर्माण व्यवसायीसँग छलफल गरेका थिए ।

मन्त्री घिसिङले आगामी वर्षायाम सुरु हुनुभन्दा अगाडि काठमाडौंभित्रको तार भूमिगत काम सम्पन्न गर्न र काम सम्पन्न भएको ठाउँमा इन्टरनेट, टेलिफोन, टेलिभिजन सेवा प्रदायकसँग समन्वय गरी जमिनमाथिको (ओभरहेड) तार हटाउन तत्काल सुरु गर्ने आग्रह गरे ।

‘भौतिक मन्त्रालयको जिम्मेवारी मैलै नै सम्हालिरहेको छु, तार भूमिगत गर्ने काम बाँकी रहेका ठाउँमा काम अगाडि बढाउन काठमाडौं महानगरपालिका प्रमुखसँग छलफल गरिसकेको छु, महानगरपालिकाले सहयोग नै गरिरहेको छ,काम बाँकी रहेको पुतलीसडकलगायतका क्षेत्रको काम तत्काल अगाडि बढाऔँ, अन्तिम समय यही हो, अहिले पनि काम गर्न सकिएन भने कहिले काम हुँदैन’, घिसिङले भने । उनले निर्माण कार्य सम्पन्न गरेपछि फिल्डमा देखिएको सडक मर्मतलगायतका काम तत्काल गर्न निर्देशन दिए ।

प्राधिकरणका कार्यकारी मनोज सिलवालले सडक विभाग र स्थानीय तहसँग समन्वय गरी निर्माण कार्य अगाडि बढाइने बताए । काम सम्पन्न भएका क्षेत्रमा भूमिगत तारबाट विद्युत् आपूर्ति दिन सुरु गरिसकिएको र ओभरहेडलाई क्रमशः हटाउँदै जाने सिलवालले उल्लेख गरे ।

प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउन पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु गरेको थियो ।

दोस्रो चरणमा काठमाडौंको बाँकी स्थान, तेस्रो चरणमा ललितपुर तथा भक्तपुरको सहरी क्षेत्र र चौथो चरणमा पोखरा तथा भरतपुर महानगरपालिकाअन्तर्गतका क्षेत्रको वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित गर्ने काम सुरु गरेको थियो । काठमाडौं उपत्यकाभित्रको निर्माण प्रगति करिब ८० प्रतिशत छ ।

यसअन्तर्गत ३३ तथा ११ हजार भोल्टेज र ४ सय भोल्टेज भूमिगत लाइन निर्माणका साथै अप्टिकल फाइबर पनि बिछ्याइनेछ । यसबाट विद्युत्, टेलिफोन, इन्टरनेट सेवा प्रदायकको गुजुल्टिएको तारले कुरूप बनेको सहरको कुरूपताको अन्त्य भई सौन्दर्य थपिनेछ । हाल भइरहेको ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरूप बनाइरहेको तारको जालो हटी सौन्दर्य कायम राख्न सकिने छ ।

भूमिगत काम गर्दा सडकमा न्यूनतम क्षति हुने प्रविधि प्रयोग गरिएको छ । सडकमा सवारीसाधनको आवागमन र पैदल यात्रीलाई असर नपर्ने गरी राति काम गर्ने व्यवस्था गरिएको छ । सडक खन्दा निक्लिएको धूलोबाट नागरिकलाई असर पर्न नदिन न्यूनीकरणका उचित व्यवस्था गरिएको छ । तार भूमिगत गर्दा क्षति पुगेको सडकको मर्मत १० दिन भित्र गरिसक्ने व्यवस्था गरिएको छ ।

पोर्चुगलको मदेइरामा घुम्ती शिविर सुरुः पहिलो दिन ५५ नेपालीले लिए सेवा

लिस्बन (पोर्चुगल) ।  पोर्चुगलको लिस्बनस्थित रहेको नेपाली दूतावासले सामुद्रिक टापु ‘मदेइरा’मा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको छ ।

पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलको नेतृत्वमा गएको टोलीले मदेइरा आइल्यान्डको फुन्चालमा घुम्ती शिविर सञ्चालन गरेर शनिबारदेखि राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको हो । घुम्ती सेवाको पहिलो दिन आज ५५ जना सेवाग्राही नेपालीले सेवा लिएको टोलीले जनाएको छ ।

राहदानी नवीकरण तथा प्रहरी चारित्रिक प्रमाणपत्र ९प्रहरी रिपोर्ट० लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई घुम्ती शिविरमार्फत मदेइरामै सेवा दिन सुरु गरिएको राजदूत पौडेलले बताएका छन् । दुई दिनसम्म सञ्चालन हुने घुम्ती शिविरबाट मदेइरा क्षेत्रमा बसोबास गर्ने एक सय बढी नेपालीले सेवा लिने अपेक्षा गरिएको उनले बताएका छन् । आइतबारसम्म सञ्चालन हुने शिविरमा उपस्थित भई राहदानी नवीकरणलगायतका कागजात प्रमाणीकरणसम्बन्धी सेवा लिन राजदूत पौडेलले मदेइरावासी नेपाली समुदायलाई विशेष आग्रहसमेत गरेका छन् ।

शिविर अवधिभर दूतावासको टोलीले राहदानीको म्याद सकिएका, हराएका, क्षति भएका तथा राहदानीको म्याद छ महिनाभन्दा कम रहेकाको विद्युतीय राहदानी ९ई–पासपोर्ट० का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गर्नेछ ।

यस्तै प्रहरी रिपोर्ट, पारिवारिक कागजातलगायत अन्य कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा प्रमाणीकरणलगायतका सेवा प्रदान गरिने दूतावासले जनाएको छ । दूतावासले मदेइरा टापुमा पहिलोपटक घुम्ती शिविर सञ्चालन गरेको हो । घुम्ती शिविरले राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका मदेइरावासी नेपालीलाई राहत मिलेको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका पूर्वमहासचिव निराजन सुवेदीले बताउनुभयो। विशेषतः शिविरबाट पोर्चुगलको कागजी प्रक्रियामा रहेका तर राहदानी नै नभएका, म्याद सकिएका, हराएका र अन्य कागजात प्रमाणीकरण गर्नुपर्ने नेपालीहरूलाई राहत मिलेको उनको भनाइ छ ।

घुम्ती शिविरबाटै दूतावासको सेवा पाउँदा सामुद्रिक टापु मदेइरा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूका लागि अत्यन्तै सहज भएको सुवेदीले बताएका छन् ।

यसअघि गत महिना पनि दूतावासले पोर्चुगलको फारो सहरमा घुम्ती शिविर सञ्चालन गरेर दुई सय नेपालीलाई सेवा दिएको थियो । पोर्चुगलमा नेपालीको यकिन तथ्याङ्क नभए पनि अनुमानित ७० हजारको हाराहारीमा रहेको अनुमान छभने मदेइरामा दुई हजार बढीको हाराहारीमा नेपाली रहेको अनुमान छ ।

चीनमा ऊर्जा र उच्च–प्रविधिको विस्तारले अर्थतन्त्रलाई नयाँ गति

बेइजिङ ।  चीनको अर्थतन्त्र सन् २०२५ को अन्त्यतिर पनि मजबुत देखिएको छ । भू–राजनीतिक तनाव र व्यापारिक चुनौतीहरू कायम रहँदा पनि चीनको मजबुत आर्थिक आधार, नीतिगत सक्रियता र औद्योगिक रूपान्तरणले विश्वभर सकारात्मक अपेक्षा बढाएको छ ।

गोल्डम्यान स्याक्सले हाल प्रकाशित प्रतिवेदनमा सन् २०२५ का लागि चीनको जिडिपी वृद्धि दर ४.९ प्रतिशतबाट बढाएर ५ प्रतिशत पु¥याएको छ । प्रतिवेदनले आगामी केही वर्षमा चीनको वास्तविक निर्यात वृद्धि ५ देखि ६ प्रतिशतसम्म पुग्ने अनुमान गरेको छ, जसले विश्व बजारमा चीनको प्रतिस्पर्धात्मक क्षमता निरन्तर विस्तार भइरहेको सङ्केत गर्छ । पारम्परिक उद्योगको उन्नयन र नयाँ ऊर्जा तथा प्रविधि–आधारित उद्योगको तीव्र विकासले यो वृद्धि सम्भव भएको बताइएको छ ।

आर्थिक सहयोग तथा विकास सङ्गठन (ओईसीडी) ले पनि चीनको वृद्धि पूर्वानुमान ५ प्रतिशतमा संशोधन गर्दै चीनलाई विश्व आर्थिक स्थिरताको महत्वपूर्ण आधारको रूपमा स्वीकार गरेको छ । ओईसीडीका अनुसार आय वृद्धि, उपभोग विस्तार र सवारीसाधन तथा घरायसी सामान अदला–बदली कार्यक्रमले आन्तरिक मागलाई उल्लेखनीय रूपमा बढाएको छ ।

डोइचे बैङ्क, मर्गन स्ट्यान्लीजस्ता प्रमुख अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले चीनको नीतिगत क्षमतालाई बलियो र प्रभावकारी रहेको निष्कर्ष निकालेका छन् । डोइचे बैङ्कका अनुसार ५०० अर्ब युआन बराबरको नयाँ वित्तीय साधनले सन् २०२५ को अन्तिम त्रैमासिक र सन् २०२६ को प्रारम्भमा घरेलु मागलाई थप मजबुत बनाउनेछ ।

स्वदेशी विश्लेषकहरूले पनि चीनको विशाल बजार, सुव्यवस्थित औद्योगिक श्रृङ्खला, प्रविधि–आधारित व्यापार संरचना सुधार तथा उदाउँदो उपभोग क्षेत्रलाई भविष्यको वृद्धि इन्जिनका रूपमा देखेका छन् । घरेलु उत्पाद र नयाँ व्यवसाय मोडेलहरूको विश्व बजारमा बढ्दो स्वीकार्यता चीनको आर्थिक सम्भावनालाई थप मजबुत बनाएको छ ।

उच्च–गुणस्तरीय विकास, स्थिरता र पुनर्जीवन क्षमताजस्ता मूल आधारहरू अपरिवर्तित रहेको र चीनले विश्व अर्थतन्त्रमा स्थिरता र वृद्धि दुवैका लागि महत्वपूर्ण भूमिका खेलिरहने विश्लेषकहरूको निष्कर्ष छ ।

जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध १३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर  ब्याटिङमा आएको कर्णालीले जनकपुरविरुद्ध निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२९ रनको योगफल खडा गर्‍यो ।

कर्णालीका ओपनर इम्रान शेखले सर्वाधिक ३३ रन बनाए । यसक्रममा उनले समान एक चौका र छक्का प्रहार गरे ।

तेस्रो नम्बरमा ब्याटिङमा आएका गुल्सन झाले १९ रन बनाए ।  अविजित रहेका कप्तान सोमपाल कामीले १८ रन जोडे । प्रियांक पन्चालले १६, विलियम बोसिस्टोले १५ र नजीबुल्लाह जाड्रानले १३ रन जोडे ।

जनकपुरका ललित राजवंशी र आदित्य महताले दुई विकेट लिए । संगीथ कुरे, अनिलकुमार साह र माज सदाकतले समान एक विकेट लिए ।

तालिकाको सातौँ स्थानमा रहेको कर्णालीले ६ खेलबाट दुई अंक जोडेको छ ।  गत वर्ष प्लेअफमा स्थान बनाएको कर्णालीले लिगको आफ्नो दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध नौ विकेटको जित निकालेको थियो । यो कर्णालीले यस सिजन निकालेको एक मात्र जित हो ।

यता, साविक विजेता जनकपुर बोल्ट्स तालिकाको पुछारमा छ । गत सिजन सुदूरपश्चिम रोयल्सलाई उपाधि भिड्न्तमा हराउँदै च्याम्पियन बनेको जनकपुरले यो सिजन ६ खेल खेल्दा एकमा मात्रै जित निकालेको छ ।

मेयर बालेन भेट्न प्रधानमन्त्री कार्की पुगिन् शाह निवास

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) निवास पुगेकी छिन् । उनी आइतबार दिउँसो ४ बजे शाह निवास पुगेकी हुन् ।

मेयर शाहका पिताको निधन भएको सातौं दिनमा प्रधानमन्त्री कार्की शाह निवास पुगेर करिब करिब २० मिनेट समय  बिताए पनि राजनीतिक कुराकानी नभएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले बताए । प्रधानमन्त्रीले बालेनका पिताको निधन हुनु अघि पनि स्वास्थ्य समस्याबारे जिज्ञासा राखेकी थिइन् ।

साथै अचानक पिता गुमाउनु परेकोमा प्रधानमन्त्री कार्कीले बालेन प्रति सहानुभूति दिँदै दु:ख व्यक्त गरेको रावलले बताए ।

 

 

 

 

प्रधानमन्त्रीलाई पूर्व राष्ट्रपति भण्डारीको आग्रह : निर्वाचन घोषित मितिमै होस्

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन् । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको भेटमा भण्डारीले यस्तो आग्रह गरेको भण्डारीको भनाइ उद्धृत गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

उनकाअनुसार भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा सरकारले गरिरहेका कामबारे भण्डारीलाई जानकारी गराइन् । उनले सरकारले गरिरहेको कार्यप्रति पूर्व राष्ट्रपति भण्डारी अत्यन्तै सकारात्मक रहेको समेत बताइन् । उनले समयमै निर्वाचन सम्पन्न गर्नेगरी अघि बढ्न आग्रह गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको पनि मन्त्री खरेलको भनाइ छ ।

उनले भने, ‘भेटको शुरुमा स्वास्थ्यसम्बन्धी र दिनचर्याका विषयमा चासो राख्नु भयो दुवै जनाले पारिवारिक कुराकानीहरु पनि उहाँहरुबीच एकदमै आत्मियताका साथ भयो । त्यसबाहेक अहिले सरकारले गरिरहेको कामको सन्दर्भमा प्रधानमन्त्री ज्युले केही कुराहरु साझा गर्नुभयो । घोषित मितिमा निर्वाचन सम्पन्न गर्न पूर्व राष्ट्रपति ज्युले सल्लाह दिनुभयो । आवश्यक परेको सहयोगका लागि आफू तयार रहेको पनि उहाँले भन्नुभयो । त्यसबारे भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकमा सुशासन कायम गर्ने सन्दर्भमा सरकारले चालिरहेको कार्यप्रति पनि उहाँले सकारात्मक भाव राख्नुभयो । प्रधानमन्त्रीले सोहीअनुसार कुरा राख्नु भयो ।’

पूर्व राष्ट्रपति भण्डारीले आईतवार जेन–जी आन्दोलनको क्रममा आगजनीमा परी खण्डहर भएका सिंहदरबारभित्रका संरचनाको अवलोकन गरेकी छन् । पूर्व राष्ट्रपति भण्डारीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोड इतिहासकै दुःखद् घटना भएको बताएकी छन् । आइतबार सिंहदरबारको वस्तुस्थिति अवलोकन गरेपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले गत भदौ २४ गते सरकारी भवनहरुमा तोडफोड, आगजनी र लुटपाट हुनु दुःखको कुरा भएको बताइन् । सिंहदरबारको स्थिति हेर्दा दुःख लागेको पनि बताइन् । उनले सरकारले चाँडै उक्त भवनहरुको पुनर्निर्माण गरी पुरानै अवस्थामा ल्याउने विश्वास आफ्नो रहेको पनि बताइन् ।

उनले भनिन् ‘भदौ २४ गते जुन घटना भयो, सरकारी भवनहरु तोडफोड, आगजनी, लुटपाटका घटना भए । यहाँको परिस्थिति कस्तो छ भनेर आएको हो । यहाँको अवस्था हेर्दा धेरै दुःख लाग्यो । नेपाल सरकारले चाँडै यिनीहरुको पुनर्निर्माण गरेर पुरानो अवस्थामा ल्याउनेछ भन्ने आशा गरेको छु । तोडफोड, आगजनी, लुटपाट नेपाली जनताका लागि दुःखद् घटना हो । नेपालको इतिहासमा कहिल्यै नभएको दुःखद् घटना हो । भविष्यमा पनि यस्तो कुनै घटना नहोस् ।’ उनले तोडफोड, आगजनी, लुटपाट नेपाली जनताका लागि दुःखद् घटना भएको बताउँदै यस्तो घटना नेपालको इतिहासमा कहिल्यै नभएको र भविष्यमा पनि हुन नहुने बताइन् ।

१०२ दल एक्ला–एक्लै निर्वाचनमा जाने, १२ वटाले लिए पाँच संयुक्त चिन्ह

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा १०२ वटा राजनीतिक दल एक्ला–एक्लै निर्वाचनमा जाने भएका छन् । १२० वटा राजनीतिक दलले निर्वाचनमा भाग लिनको लागि निवेदन दिएकोमध्ये १०२ वटा दलहरुले एक्ला–एक्लै निर्वाचनमा जाने गरी निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । १२ वटा राजनीतिक दलहरुले भने संयुक्त रुपमा एकल चिन्ह प्रयोग गरी निर्वाचनमा जाने गरी आयोगमा निवेदन दिएको उनले बताए।

उनकाअनुसार १२ वटा राजनितिक दलले विभिन्न समूह बनाएर ५ वटा चुनाव चिन्ह प्रयोग गरी निर्वाचनमा भाग लिनेछन् । एकल चुनाव चिन्ह र संयुक्त चुनाव चिन्ह प्रयोग गरी ११४ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए। उनकाअनुसार प्रतिनिधि सभा निर्वाचनमा ११४ वटा दल १०७ वटा चिन्हमार्फत निर्वाचनमा सहभागी हुनेछन् । आयोगले राजनितिक दलहरुको निवेदन स्वीकृत गरिसकेको छ।

उनले भने, ‘हामीलाई छुट्टाछुट्टै निर्वाचनमा भाग लिनको लागि र एकल चुनाव चिन्ह लिएर निर्वाचनमा जानको लागि विभिन्न १२० वटा निवेदन प्राप्त भएका थिए। १२० वटा निवेदन प्राप्त भएकामध्ये १०२ वटा दलले आफू मात्रै एक्लै चुनावमा जाने गरी निवेदन दिनुभएकोमा उहाँहरुको निवेदन स्वीकृत भएको छ।’

उनले भने, ‘१२ वटा दलले संयुक्त रुपमा, १२ वटा एउटै समूहमा होइन, कुनैमा दुई दल कुनैमा तीन दल मिलेर एकल चुनाव चिन्ह प्रयोग गर्ने गरी दल दर्ताको निवेदन दिनु भएको थियो । त्यसमध्ये १२ वटा दलको ५ वटा निर्वाचन चिन्ह प्रयोग गर्ने गरी स्वीकृत भएको छ। १२० वटा निवेदनमध्ये ११४ वटा दलले निर्वाचनमा भाग लिन पाउने भएका छन् । ११४ मध्ये १०२ दलले आ–आफ्नो निर्वाचन चिन्ह प्रयोग गरेर जाने र १२ वटा दलले विभिन्न समूहमा रहेर ५ वटा निर्वाचन चिन्ह प्रयाग गरेर निर्वाचनमा जानेगरि प्रतिनिधि सभा निर्वाचनमा ११४ वटा दल १०७ वटा चिन्हमार्फत निर्वाचनमा सहभागी हुनेछन्।’

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भने आइतबारबाट शुरु गरेको छ। समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंगलवारसम्म निवेदन दिन सक्ने छन्। प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गरिनेछ भने आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेद्वारको बन्दसूची पेश गर्ने समय तोकिएको छ । बन्दसूची पेश गर्दा ५० प्रतिशत महिला हुनुपर्ने आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फको भने आगामी माघ ६ गते उम्मेद्वारी मनोनयन गर्ने कार्यतालिका छ। समावेशी समाजवादी पार्टीको अध्यक्ष नुमा लिम्बूले निर्वाचनका लागि आफ्नो पार्टीले प्रदेश, जिल्ला, स्थानीय, वडाहरु सबैतिर संरचना विस्तार गरेर तयार गरिरहेको जानकारी दिइन्।

लैंगिक तथा अल्पसंख्यक समुदाय, आदिवासी, जनजाति, मनोरञ्जन क्षेत्रका सबैलाई सहभागी गराएर निर्वाचनको तयारी गरिरहेको उनले बताइन्। नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले शिक्षा, स्वास्थ्य निःशुल्क हुनुपर्ने माग आफूहरुको रहेको बताए। युवाहरुलाई देशमा रोजगारी दिनुपर्ने, नेपालीको सम्पतिको सीमाङ्कन हुनुपर्ने, विदेशमा सम्पति राख्न नपाउने, उत्पादनका मुख्यमुख्य साधन र सेवा सामाजिकीकरण गर्नुपर्ने माग राखे । असमान सन्धि, सम्झौता खारेज हुनुपर्ने माग गरे । समानुपातिक निर्वाचनमा भाग लिन निवेदन दिने प्रक्रियाका लागी राजनितिक दलहरु निर्वाचन आयोगमा जाने क्रम बढेको छ।

 

ओली कुटीबारे महेश बस्नेत : ओली जोगी होइनन्, नामाकरणमा टाउको नदुखाउनुस्

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण हुन लागेको ‘ओली कुटी’ बारे भइरहेको टिप्पणीप्रति आपत्ति जनाएका छन् । बस्नेतकै पहलमा नयाँ घर निर्माण गर्न लागिएको तर त्यसलाई कुटी नामाकरण गरेर भव्य बंगाला बनाउन लागिएको भन्दै भइरहेको आलोचनाप्रति बस्नेतले टाउको नदुखाउन भनेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘केपी ओली जोगी होइनन्, एमाले नेपालकै ठूलो र सक्षम राजनीतिक शक्ति हो । उहाँ त्यसको अध्यक्ष हो । केपी ओलीका लागि २–३ कोठाको घर बनाइन्छ भन्ने कुरा ‘अपेक्षा’ हो भने अव्यावहारिक छ र ‘ब्यङग्य हो भने—ब्यङग्य गर्नेहरूको घर, बसाइ र जीवनशैली सबैले देखेकै छौँ । त्यसैले कृपया टाउको नदुखाउनुहोस् । कुटी वा आश्रम जे भने पनि त्यो नामाकरण मात्रै भएको त्यसलाई व्यंग्य गर्न नहुने टिप्पणी गरेका छन् ।

‘उनले थप लेखेका छन् । कुटी भन्नुस वा ‘आश्रम’ यी त नामाङ्कन मात्रै हुन् । हिजो नेकपा फुटाएर एमाले सके भनेर केपी ओली ‘बार्दली गए’ भनेर व्यंग्य गर्नेहरूलाई केपी ओलीले बार्दलीमै बसेर नेपालको राजनीति नियन्त्रण र सन्तुलन निर्धारण गर्ने व्यक्ति उहाँ नै हो । आज फेरि ‘राजनीतिबाट कुटी पुगे’ भनेहरूले बुझ्नु पर्ने कुरा यस्तो छ । जेनजी आन्दोलनपछि ओलीको भक्तपुरको बालकोटस्थित निजी निवास क्षति भएपछि भक्तपुरकै गुण्डुमा ओलीका लागि ‘ओली कुटी’ निर्माण गर्न लागिएको छ । उक्त कुटीको शिलान्यास ओली पत्नी राधिका शाक्यले बिहीबार मात्रै गरेकी थिइन् ।

 

सुडानमा तीव्र द्वन्द्व , बालबालिका र नागरिक जीवन जोखिममा

पोर्त सुडान ।  सुडानको दक्षिण कोर्डोफान राज्यको कालोगी शहरमा सेनाको नियन्त्रणमा रहेको क्षेत्रमा भएको ड्रोन आक्रमणले एक अस्पताललाई निशाना बनाएको छ । आक्रमणमा दर्जनौँ नागरिकको मृत्यु भएको स्थानीय अधिकारीहरूले आइतबार जनाएको छ ।

कालोगी प्रशासनिक एकाइका प्रमुख एस्साम अल–दिन अल–सैय्येदका अनुसार, आक्रमण बिहीबार तीन चरणमा भयो । “पहिलो पटक किंडरगार्टेन, दोस्रो पटक अस्पताल र तेस्रो पटक मानिसहरूले बच्चाहरूलाई उद्धार गर्ने प्रयास गर्दा हमला भयो,” उनले भने ।

अप्रिल सन् २०२३ देखि द्वन्द्वमा हजारौँको मृत्यु भइसकेको छ भने करीव १२ लाख मानिस विस्थापित भएका छन् ।

संयुक्त राष्ट्र बालबालिका निकायका अनुसार, आक्रमणमा पाँचदेखि सात वर्ष उमेरका १० भन्दा बढी बच्चाहरूको मृत्यु भएको छ । रक्षामन्त्रालयले कुल मृत्यु सङ्ख्या ७९ तोकेको छ, जसमा ४३ बच्चाहरू छन् ।

बालबालिका अधिकारका प्रतिनिधिले भने, “विद्यालयमा बच्चाहरूको हत्या हुनु बालअधिकारको भयानक उल्लंघन हो ।” उहाँले सबै पक्षलाई आक्रमण रोक्न र मानवीय सहायता सुनिश्चित गर्न आग्रह गरेका छन् ।

गत महिनामा ४० हजारभन्दा बढी मानिस यस क्षेत्रबाट विस्थापित भएका छन् । विश्लेषकका अनुसार, आक्रमणको उद्देश्य सेनाको मध्य सुडान वरिपरि अन्तिम सुरक्षा रेखा तोड्नु र राजधानी खार्तुमसहित प्रमुख शहरहरू पुनः कब्जा गर्नु हो ।

ग्रीसमा १८ आप्रवासी मृत फेला, अनुसन्धान सुरु

एथेन्स ।  ग्रीसको दक्षिणी तट नजिक क्रेट टापु वरिपरि एक डुङ्गामा १८ आप्रवासी मृत भेटिएका छन् भने दुई जना उद्धार भएका छन् ।

ग्रीसको सार्वजनिक प्रसारक ईआरटीका अनुसार, डुङ्गा इरापेट्रा शहरदेखि करिब (४८ किलोमिटर)दक्षिणमा फेला परेको थियो । मृतक १८ जनाको शव डुङ्गाभित्रै भेटिएको छ । प्रारम्भिक जानकारी अनुसार, लामो समयसम्म खराब मौसममा डुङ्गामा खुला रहँदा, खाना नपाउँदा र चिसोको असरले उनीहरूको मृत्यु भएको हुन सक्ने बताइएको छ ।

उद्धार भएका दुई व्यक्ति अधिकारीहरूलाई बताएअनुसार, खराब मौसमका कारण उनीहरू घण्टौँसम्म सुरक्षित स्थान नपाई सङ्घर्ष गर्दै थिए । ग्रीस तटरक्षकका अनुसार मृतक डुङ्गा फेला पर्नुअघि एक दिनभन्दा बढी समयदेखि मृतावस्थामा थिए ।

उक्त घटनाबारे ग्रीसका अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् ।

 

भित्र हेलिपोर्ट भ्रष्टाचारमा प्रदीप अधिकारीको सुनुवाइ, बाहिर पोखराको मुद्दा दर्ता

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी एकैसाथ दुई अलग–अलग भ्रष्टाचार मुद्दामा विशेष अदालतको प्रक्रियामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणसम्बन्धी अनियमितताको आरोपमा उनलाई मंसिर १७ गते पक्राउ गरी हिरासतमा राखेपछि आइतबार विशेष अदालतमा उपस्थित गराएको थियो ।

हेलिपोर्ट निर्माण प्रकरणको सुनुवाइ आज न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा भइरहेको छ । यसअघि मंसिर १९ गते थुनछेक बहसका क्रममा न्यायाधीशले मुद्दा हेर्न नमिल्ने प्रश्न उठेपछि सुनुवाइ स्थगित गरिएको थियो । यसैबीच, अधिकारी अदालत परिसरमै रहँदा अख्तियारले उनलाई समेटेर अर्को ठूलो मुद्दा दर्ता प्रक्रियामा अगाडि बढाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता भएको दाबी गर्दै आयोगले अधिकारीसहित ५६ जनालाई प्रतिवादी बनाएको आरोपपत्र दर्ताका लागि विशेष अदालतमा बुझाइएको स्रोतले जनाएको छ ।

यसअघि हेलिपोर्ट प्रकरणमा मात्र अनुसन्धान भइरहेको अधिकारी अब पोखरा विमानस्थलको सम्भावित भ्रष्टाचार प्रकरणमा पनि सोधपुछ र अदालत प्रक्रियामा तानिएका छन् । एकै समयमा दुई मुद्दामा सुनुवाइ चलिरहेका कारण उनको कानुनी जटिलता थपिएको छ । करिब आठ अर्ब रुपैयाँ बराबरको बिगो दाबी गरिएको यो प्रकरणमा पाँच जना पूर्वमन्त्रीदेखि १० जना तत्कालीन सचिव र विभिन्न निकायका उच्च पदस्थ अधिकारीहरुलाई प्रतिवादी बनाइएको छ ।

अख्तियारले दायर गर्न लागेको मुद्दामा तत्कालीन अर्थमन्त्री डा. रामशरण महत, पर्यटनमन्त्री रहिसकेका पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्यलाई प्रतिवादी सूचीमा समावेश गरिएको छ । बोगटीको निधन भइसकेको र महत हाल रोगका कारण सक्रिय राजनीतिबाट टाढा रहेको भए पनि उनीहरूको कार्यकालमा परियोजनामा देखिएको अनियमितताको आधारमा मुद्दा अघि बढाइएको छ ।

त्यस्तै, सम्बन्धित अवधिका १० जना पूर्व सचिवहरूलाई समेत जिम्मेवारीका आधारमा प्रतिवादी बनाइएको छ । सचिवहरूसँगै नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक रतिस चन्द्र लाल सुमन र त्यसबेलाका प्रोजेक्ट म्यानेजर, हाल प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलगायत धेरै अधिकारीहरू पनि मुद्दामा समावेश छन् । संसदीय समितिले यसअघि अनियमितता छानबिन गर्न सिफारिस गरेको समूहका केही कर्मचारीहरू पनि प्रतिवादी बनेका छन् ।

रामकुमार श्रेष्ठ यसअघि अख्तियारले दायर गरेको अकुत सम्पत्ति आर्जन मुद्दामा विशेष अदालतबाट दोषी ठहर भइसकेका व्यक्ति हुन् । भीम आचार्य एमालेभित्र महत्वपूर्ण पदका दाबेदार रहेका पूर्व सांसद हुन् भने दीपक अमात्य झलनाथ खनालका स्वकीय सचिव रहेर पर्यटन मन्त्रालयको नेतृत्वमा पुगेका थिए ।

रिमामाथि राजनीतिक ‘हमला’ : बचाउमा उत्रिए हिमेश

काठमाडौं । कलाकार रिमा विश्वकर्माको राजनीतिक प्रवेशसँगै सामाजिक सञ्चालमा उठेका टीका–टिप्पणी तीव्र बनेका छन् । यति बेला चर्चित कलाकार तथा व्यंग्यकार हिमेश पन्त भने रिमाको समर्थनमा खुला रुपमा उत्रिएका छन् । उनले कलाकारको योग्यतामाथि प्रश्न उठाइएका अभिव्यक्तिहरूलाई कटाक्ष गर्दै, कलाकारलाई राजनीति अयोग्य ठहर्‍याउने मानसिकता नै समस्याग्रस्त रहेको टिप्पणी गरेका छन् ।

हिमेशका अनुसार राजनीति सञ्चालनको मूल आधार इमानदारी, जनभावना बुझ्ने क्षमता र सामाजिक संवेदनशीलता हो, जुन गुण कलाकारमा नभएको भन्नु वास्तविकतालाई नबुझ्नु हो । उनले प्रश्न उठाएका छन्, ‘आज देश चलाइरहेका नेताहरू कुन संस्थाबाट ‘राजनीतिक डिग्री’ लिएर आएका हुन् ? कति जनामा नेतृत्व कौशल छ ? कति जनाले परिणाम देखाएका छन् ?’

उनका अनुसार कलाकार भने आफ्नो कामको नतिजा प्रत्यक्ष जनताबाट पाउने भएकाले जनअनुग्रह बुझ्न उनीहरू सधैं नजिक हुन्छन् । यता राजनीतिमा दशकौँ बिताएका धेरै नेताहरूको परिणाम भने अदृश्य नै देखिएको उनको तर्क छ ।
कलाकार राजनीतिमा आउँदा केही व्यक्तिहरू असजिलो महसुस गर्नुका कारणबारे बोल्दै उनले भनेका छन्, ‘नयाँ अनुहारले पुरानै प्रणालीको कमजोरी उजागर गरिदिन्छ । नयाँ सोच, नयाँ व्यवहार र अनुशासनले पुरानामा दबाब सिर्जना हुन्छ । यही कारण कतिपयले कलाकारको प्रवेश मन नपराउनु स्वाभाविक हो ।’

आफै पनि एक पटक चुनाव लडेका पन्तले कलाकारप्रतिको अविश्वास र पूर्वाग्रह पहिले नै भोगिसकेको स्मरण गरे । एउटै सानो समस्या समाधान गर्न पनि नेताको पछि लाग्नुपर्ने बाध्यताले नै समाजले राजनीति र पेशा छुट्याउन नसकेको प्रस्ट हुन्छ भनेर उनले टिप्पणी गरेका छन् । रिमातर्फ सम्बोधन गर्दै पन्तले शुभकामना व्यक्त गरेका छन्, ‘नयाँ मान्छे राजनीतिमा आउनु भनेको देशमा नयाँ सोच र नयाँ अनुशासन थपिनु हो । तपाईं कलाकारितामा जस्तै यहाँ पनि मेहनत र सत्य बोल्ने साहसका साथ अघि बढ्नुहोस् ।’ हिमेशको अभिव्यक्तिले कलाकारको राजनीतिक सहभागितामाथिको बहस पुनः चर्किएको छ, जसले नेपाली राजनीतिमा ‘नयाँ पुस्ताको आकांक्षा’ कति बलियो छ भन्ने संकेत पनि दिएको छ ।

केही दिनअघि ऊर्जामन्त्री कुलमान घिसिङको उपस्थितिमा उज्यालो नेपाल पार्टी घोषणा भयो । कार्यक्रममा अभिनेत्री तथा सञ्चारकर्मी रिमा विश्वकर्मा सारीमा सजिएर आइन् । पार्टीको केन्द्रीय सदस्य समेत रहेकी उनले पार्टीको घोषणापत्र पढिन् । भाषण गर्दै आफू देश बनाउने हुटहुटीले राजनीतिमा आएको समेत बताइन् । उनको भाषण सुन्दा लाग्थ्यो, उनले राम्रै पूर्वतयारी गरेर आएकी थिइन् । रिमाको भाषणलाई लिएर कलाकर्मीहरुले पनि तारिफ गरेका थिए । तर, गायिका ज्योति मगरले भने रिमाप्रति कटाक्ष गरेकी थिइन् । रिमाको नाम नलिईकनै उनले सञ्जालमार्फत् भनेकी छन्, ‘म पनि पार्टी प्रवेश गरुम् भनेको प्रोगामहरुको व्यस्तताले अलि भ्याइएन । इन्दिरा गान्धी टाइपको नयाँ सारी सिलाउनै भ्याइएन ।’ चलचित्र क्षेत्रमा रिमाले काम नै नपाएकोप्रति संकेत गर्दै ज्योतिले भनेकी छन्, ‘अलि कामहरु कम भयो भने राजनीतिमा छिरेर देश बनाउनु पर्ला । हाल मेला महोत्सवतिरै फोकस गर्ने निधो गरियो ।’ ज्योतिले लमजुङ सुन्दर बजारमा हुने कन्सर्टको पोस्टर समेत शेयर गरेकी छन् ।

 

कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा खण्ड कालोपत्र शुरु

गलकोट(बागलुङ)  ।  राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको मालढुङ्गा–बलेवा खण्डमा कालोपत्र सुरु भएको छ ।

कालीगण्डकी करिडोरको बागलुङस्थित मालढुङ्गा–बलेवा खण्डको १० किमि सडक कालोपत्रका लागि थापिएको सम्झौता मिति सकिनै लाग्दा काम सुरु भएको छ । अहिले बलेवा विमानस्थलबाट मालढुङ्गातर्फ र मालढुङ्गाको चेकपोष्टदेखि काठेखोलाको पुलतर्फ कालोपत्र गर्न थालिएको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका इन्जिनियर पिपुल गौतमले जानकारी दिएका छन् ।

उनले मङ्सिरसम्म कालोपत्रको काम गरिने र बाँकी सडक जाडो सकिएपछि फागुनबाट थालिने गरी मालढुङ्गाबाट कालोपत्रको काम शुरु गरिएको बताएका छन् ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्ड तीन वर्षमा कालोपत्रको चरणमा पुगेपनि समस्याग्रस्त क्षेत्रका रुपमा दब्ल्याङ र कालाखोलामा पहिरो पन्छाउनै बाँकी छ । आयोजनाको अहिलेसम्मको कुल प्रगति ७० प्रतिशत पुगेको छ ।

दुई वर्षमा सक्नेगरी खण्ड्का कृष्ण बिएन जेभीसँग सम्झौता गरेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले काम नसकिएको भन्दै एक वर्ष म्याद थपेको थियो । थपेको म्याद समेत यही २०८२ मङ्सिर मसान्तमा सकिदै छ । मङ्सिर मसान्तमा बलेवाको दम्कादेखि विमानस्थलसम्म र मालढुङ्गादेखि दब्ल्याङसम्मको सडक कालोपत्र भइसकने छ भने बाँकी खण्डमा पूर्वाधार सकेर फागुनबाट सबै सडक कालोपत्र गरिने छ ।

इन्जिनियर गौतमका अनुसार बलेवा–हर्मिचौरको ४४ किलोमिटर सडक सम्झौता अगावै काम सम्पन्न भइसकेको छ भने छोटो खण्डको रुपमा रहेको बलेवा–मालढुङ्गा सडकको १० किमि भने एक पटक म्याद थप गरेपछि कालोपत्रको काम थालिएको हो ।

“मङ्सिर मसान्तसम्म तापक्रम पुग्छ, कालोपत्र हुन्छ, त्यसपछिका दुई महिनमा अन्य पूर्वाधार सकिन्छ, चैतसम्म कालोपत्र सक्नेगरी निर्माण व्यवसायीलाई ताकेता गरेका छौं, मङ्सिरसम्म कार्यप्रगति हेरेर मात्रै म्याद थप हुन्छ, अब एकपटक छ महिनालाई म्याद थपे सम्पन्न हुने देखिएको छ” इन्जिनियर गौतमले भने, “कालोपत्रको काम सुरु भएकाले म्याद थप गरेर सम्पन्न गछौं ।”

गौतमका अनुसार अनुसार १० किलोमिटर दूरी रहेको उक्त खण्डका लागि रु ५५ करोडमा निर्माण कम्पनीले ठेक्का लिएको थियो । पूर्वाधारको काम अन्तिम चरणमा पु¥याएर कालोपत्रको काम थालेको निर्माण व्यवसायीका प्रतिनिधि दिनबन्धु काफ्लेले जानकारी दिएका छन् ।

पूर्व राष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेट, सिंहदरबार अवलोकन (तस्वीरहरु)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी जेन–जी आन्दोलनको क्रममा आगजनी गरिएका संरचना अवलोकनमा सिंहदरबार गएकी थिइन् । सोक्रममा प्रधानमन्त्रीसँग भेटघाटको चाँजोपाँजो मिलाइएको हो । दुई जनाबीच समसामयिक विषयसँगै निर्वाचनको तयारीबारे सरकारले गरिरहेका काम कारबाहीबारे छलफल भएको बताइएको छ ।

यस्तै पूर्व राष्ट्रपति भण्डारीले जेन–जी आन्दोलनका क्रममा आगजनीमा परेको सिंहदरबारको अवलोकन गरेकी छन् । उनी आज दिउँसो २ बजे सिंहदरबार पुगी सिंहदरबार, ग्यालरी बैठक भवनको समेत अवलोकन गरेकी हुन् । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा आगजनी हुँदा सिंहदरबारको पक्षीम भाग पूर्ण रुपमा क्षति भएको छ ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी

बर्दिया घटनाका सम्बन्धमा छानबिन समिति गठन

काठमाडौँ ।  गृह मन्त्रायलले बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको घटनामा सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ ।

गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटना बारेमा सर्वत्र चासो र चिन्ता प्रकट भएपछि मन्त्रालयको पनि गम्भीर ध्यानाकर्षण भनेको जनाउँदै सचिवस्तरीय निर्णय गर्दै सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको मन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रुपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेस गर्ने समय दिइएको छ । घटनाका सम्बन्धमा छानबिन गर्न प्रधानमन्त्री सुशिला कार्कीले पनि गृहमन्त्री अर्याललाई निर्देशन दिएका थिए ।

कार्यालय बन्द हुँदा पनि जरिवाना तिर्नु परेको सेवाग्राहीको गुनासो

चितवन ।  भरतपुर महानगरपालिका–२ का आनन्द राउत पटकपटक कार्यालय जाँदा पनि सवारी चालक अनुमति पत्र र सवारीको कर तिर्न पाएका छैनन् । जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा यातायात कार्यालय क्षतिग्रस्त भएको थियो । आगलागीका कारण कार्यालयमा क्षति पुगेपछि सेवा प्रभावित भएको थियो ।

भदौ २४ गतेबाट बन्द भएको यातायात कार्यालयको सेवा असोज २२ गतेबाट आंशिक सञ्चालनमा आएको थियो भने चालक अनुमतिपत्र नवीकरण गत सातादेखि मात्रै सुरु भएको हो । यस अवधिमा सेवाग्राहीले नियमित नवीकरण गर्न पाएनन् ।

राउत भन्छन्, “पहिले पटक–पटक कार्यालय पुग्दा पनि सेवा पाइएन, अहिले जरिवाना तिर्नु परेको छ ।” भरतपुरमा रहेको यातायात व्यवस्था कार्यालयमा दैनिक सवारी चालक अनुमति पत्र नवीकरणका लागि दैनिक चार सय, ठूला सवारी नवीकरणका लागि तीन सय र दुईपाङ्ग्रे सवारी साधनका नवीकरणका लागि चार सय सेवाग्राही आउने गरेका छन् ।

गत साता मात्रै सवारीचालक अनुमती पत्र र सवारी साधनका कर वापत राजश्व दस्तुर दोब्बर तिर्नु परेको उनले गुनासो गरेका छन् । उनले भने, “पहिले प्रणाली नै चलेन भनियो, अहिले जरिवाना लगाइएको छ ।”

कार्यालयबाट सवारी नवीकरण असोज २२ गतेबाट सुरु भए पनि बन्दको समयमा तीन महिना कटेका सवारी साधनहरुको नवीकरणमा समेत राजस्व वढी लिइएको छ । अन्य प्रदेशहरुले छुट गर्दा समेत बागमती प्रदेशले छुट गर्न नसकेको भन्दै सेवाग्राहीले गुनासो पोखेका छन् ।

यातायात व्यवस्था कार्यालय चितवनका सूचना अधिकारी ज्ञानवबहादुर वोगटीले श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशबाट निर्णय नभएका कारण सेवाग्राहीलाई जरिवाना छुट गर्न नसकिएको बताएका छन् । उनले भने “हामीले सेवाग्राहीको निवेदनसहित मन्त्रालय पठाएका छौ । तर निर्णय आएको छैन ।”

सवारी नवीकरण गर्दा पहिलो महिना ५ प्रतिशत, दोस्रो महिना १० प्रतिशत र ७५ दिन कटेपछि २० प्रतिशत बढी दस्तुर बुझाउनुपर्छ । यस्तै सार्वजनिक सवारी साधनधनीले रुट प्रमिट बापत प्रत्येक ६ महिनमा रु १५ हजार बुझाउनु पर्नेमा अहिले रु ३० देखि ४५ हजार सम्म बुझाएका छन् । कतिपय व्यवसायीको आन्दोलन र कार्यालय बन्द रहेको समयमा समेत रुट परमिटको समय सकिएर दोहोरो मारमा परेका हुन् ।

श्रम, रोजगार तथा यातायात मन्त्रालयका उपसचिव बिमल भट्टराईले प्रदेश सरकारको अर्थ मन्त्रालयमा फाइल पुगेको तर निर्णय भईनसकेकाले जरिवाना छुट गर्न नसकिएको बताएका छन् । उनका अनुसार सवारी चालक अनुमती पत्रको काम सङ्घीय सरकारको यातायात व्यवस्था बिभागले गर्ने भएकाले सो विषयमा निर्णय आई नसकेकाले पूर्ववत अवस्थामा काम गरिएको बताएका छन् ।

मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण : सुशासन पहिलो प्राथमिकता

जनकपुर । मधेसका मुख्यमन्त्री कृष्ण यादवले पदभार ग्रहण गरेका छन् । आइतबार नै पद तथा गोपनियताको शपथ ग्रहण गरेका मुख्यमन्त्री यादवले मुख्यमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले चाँडै नै मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए ।

उनले पहिलो दिनदेखि नै काम गर्ने उद्देश्यका साथ सरकारमा आएको बताउँदै सत्ता घटकका सबै दलबाट प्रतिनिधित्व हुने गरी चाँडै नै मन्त्रिमण्डल विस्तार गर्ने बताए । मुख्यमन्त्री यादवले प्रतिपक्षी दलहरुबाट समेत रचनात्मक सहयोग प्राप्त गर्ने अपेक्षा गरेका छन् । उनले सुशासन कायम गर्ने र प्रदेशबाट गर्नसक्ने कार्यहरु छिटो, छरितो गर्ने काममा आफू लाग्ने बताए । उनले मधेस प्रदेशमा अब स्थायित्व कायम हुने बताए ।

 

 

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र

गण्डकी ।  नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन महाअभियान’ सञ्चालन गरिरहेको मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र विस्तार भएका छन् । यस वर्ष काठमाडौँको रानीवन र सुनसरीको धरानमा सेवा केन्द्र थपिएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार देशभर रहेका सेवा केन्द्रमा अहिले दुई हजारभन्दा बढी अशक्त, बेसहारा र अभिभावकविहीनहरुले आश्रय लिइरहेका छन् । ‘नेपाललाई मानवीयताको देश’ बनाउने लक्ष्यमा मानवसेवा आश्रम समर्पित रहेको अध्यक्ष अधिकारीले बताएका छन् । “नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र घोषणा गर्ने उद्देश्यमा हामी दृढ छौँ, छिट्टै हामी लक्ष्यमा पुग्दैछौँ”, उनले भने ।

परोपकारी संस्थाका रुपमा विसं २०७३ मा मकवानपुरको हेँटौडाबाट मानवसेवा आश्रमले औपचारिक सेवा सुरु गरेको थियो । आश्रमको केन्द्रीय कार्यालय पनि हेँटौडामा छ । त्यसयता झण्डै एक दशकभित्र देशका २१ जिल्लाका ३० सेवा केन्द्रमार्फत मानवसेवा आश्रमले सेवा प्रदान गरिरहेको हो । “कोही पनि नागरिक सडकमा आश्रित हुनु नपरोस् भनेर मानवता प्रवर्द्धन महाअभियान सञ्चालन गरिएको हो”, अध्यक्ष अधिकारीले भने, “हामी छिट्टै नेपाललाई सडक मानवरहित राष्ट्रको रुपमा घोषणा गर्दैछौँ ।”

शाखा र सेवा केन्द्र विस्तारसँगै आश्रमका आफ्नै भवनलगायत संरचना बन्ने क्रम पनि चलिरहेको मानवसेवा आश्रमका सह–कोषाध्यक्ष सुमिरा लामाले बताएका छन् । आश्रमको केन्द्रीय कार्यालय हेँटौडासहित शाखा कार्यालय रुपन्देही र चितवनको भवन बनेर पनि सेवा सञ्चालनमा आइसकेको उनको भनाइ छ । मोरङ, झापा, सर्लाही, पर्सा, धनगढी, काठमाडौँ, ललितपुर, सुर्खेतलगायत जिल्लामा पनि भवन निर्माणको प्रकृया अगाडि बढेको लामाले बताएका छन् ।

गण्डकी प्रदेशमा पनि कास्की, बागलुङ, लमजुङ र गोरखा शाखाको भवन निर्माणाधीन अवस्थामा छ । सरकारी निकाय, विभिन्न सङ्घसंस्था र अन्य दाताहरुको सहयोगमा आश्रमका भवन निर्माण भइरहेका छन् । विभिन्न जिल्लामा आश्रम निर्माणका लागि महायज्ञ सञ्चालन गरेर पनि आर्थिक जोहो गरिएको सह–कोषाध्यक्ष लामाले बताएका छन् । अहिलेसम्म १२ ठाउँमा महायज्ञ लगाइएको उनको भनाइ छ ।

बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणाधीन आश्रमको भवन निर्माण सहयोगार्थ गत कात्तिक २१ देखि २९ गतेसम्म सञ्चालित श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा रु नौ करोड ७७ लाख ७२ हजार सङ्कलन भएको नले जानकारी दिएका छन् । उक्त रकम आश्रमको भवन निर्माण र अक्षयकोष वृद्धिमा खर्च गरिने जनाइएको छ । विसं २०७७ देखि निर्माण थालिएको बागलुङस्थित आश्रमको भवन निर्माणमा बजेट अभाव भएपछि महायज्ञ लगाएर स्रोत जुटाइएको हो ।

मानवसेवा आश्रमले सडकआश्रित मानवहरुको व्यवस्थापन, औषधोपचार र पालनपोषण गर्दै आएको छ । आश्रमले देशभरका सेवा केन्द्रमार्फत अहिलेसम्म हजारौँ सडक मानवलाई उद्धार गरेको छ भने कैयनको परिवारसँग पुर्नमिलन भएको छ । मानवसेवा आश्रमका सह–कोषाध्यक्ष लामाका अनुसार हालसम्म २८ सय बढीको पारिवारिक पुर्नमिलन भएको छ भने २२ सयबढी उपचारपछि स्वेच्छाले आश्रमबाट बाहिरिएका छन् ।

आश्रममै रहेका बेला आठ सयभन्दा बढीले मृत्युवरण गरेको जनाइएको छ । यस्तै छ सय बढीको सामुदायिक पुर्नस्थापना भएको छ । मानवसेवा आश्रम ‘सबैका लागि खाना, नाना र छाना’को आदर्श वाक्यसहित नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने महाअभियानमा जुटेको आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले बताएका छन् । ।

मानवसेवा आश्रमले तत्कालीन योजनामा आश्रमका भवन निर्माण, सडकआश्रित मानवरहित नेपाल घोषणा, मानवता अध्ययन केन्द्र स्थापना र ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र निर्माणलाई अघि सारेको छ । मध्यकालीन योजनामा विसं २०८७ भित्र मानव सेवा आश्रमलाई मानवता, परोपकार र सामाजिक विषयको अध्ययन तथा अवलोकन गन्तव्यका रुपमा विकास गर्ने र सातै प्रदेशमा मानसिक स्वास्थ्य लाभ केन्द्र (अस्पताल) स्थापनालाई समेटिएको छ ।

पोखरा विमानस्थल भ्रष्टाचारमा आठ अर्ब बिगो, पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गम्भीर अनियमितता र भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको छ । करिब आठ अर्ब रुपैयाँ बराबरको बिगो दाबी गरिएको यो प्रकरणमा पाँच जना पूर्वमन्त्रीदेखि १० जना तत्कालीन सचिव र विभिन्न निकायका उच्च पदस्थ अधिकारीहरुलाई प्रतिवादी बनाइएको छ ।

अख्तियारले दायर गर्न लागेको मुद्दामा तत्कालीन अर्थमन्त्री डा. रामशरण महत, पर्यटनमन्त्री रहिसकेका पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्यलाई प्रतिवादी सूचीमा समावेश गरिएको छ । बोगटीको निधन भइसकेको र महत हाल रोगका कारण सक्रिय राजनीतिबाट टाढा रहेको भए पनि उनीहरूको कार्यकालमा परियोजनामा देखिएको अनियमितताको आधारमा मुद्दा अघि बढाइएको छ ।

त्यस्तै, सम्बन्धित अवधिका १० जना पूर्व सचिवहरूलाई समेत जिम्मेवारीका आधारमा प्रतिवादी बनाइएको छ । सचिवहरूसँगै नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक रतिस चन्द्र लाल सुमन र त्यसबेलाका प्रोजेक्ट म्यानेजर, हाल प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलगायत धेरै अधिकारीहरू पनि मुद्दामा समावेश छन् । संसदीय समितिले यसअघि अनियमितता छानबिन गर्न सिफारिस गरेको समूहका केही कर्मचारीहरू पनि प्रतिवादी बनेका छन् ।

रामकुमार श्रेष्ठ यसअघि अख्तियारले दायर गरेको अकुत सम्पत्ति आर्जन मुद्दामा विशेष अदालतबाट दोषी ठहर भइसकेका व्यक्ति हुन् । भीम आचार्य एमालेभित्र महत्वपूर्ण पदका दाबेदार रहेका पूर्व सांसद हुन् भने दीपक अमात्य झलनाथ खनालका स्वकीय सचिव रहेर पर्यटन मन्त्रालयको नेतृत्वमा पुगेका थिए । अख्तियारबाट फाइल तयार हुँदै अदालतमा दर्ता प्रक्रियामा रहेका सबै विवरण सार्वजनिक हुन बाँकी छ, तर प्रारम्भिक दाबीअनुसार विमानस्थल निर्माणमा अत्यधिक लागत वृद्धि, ठेक्का व्यवस्थापनमा अनियमितता, निर्णय प्रक्रियामा दुरुपयोग र जिम्मेवारी बहन गर्ने तह–तहका अधिकारीहरूको संलग्नतासहितको योजनाबद्ध भ्रष्टाचारका आधारमा मुद्दा अघि बढाइएको बताइएको छ ।

श्रीलङ्कामा ७५ हजार भन्दा बढी घर क्षतिग्रस्त, राहत कार्य तीव्र

कोलम्बो । श्रीलङ्का सरकारले आइतबार नयाँ चेतावनी जारी गरेको छ । श्रीलङ्कामा हालै आएको विनासकारी चक्रवातका कारण अहिलेसम्म कम्तिमा ६१८ जनाको ज्यान गएको छ ।

गत हप्ता आएको चक्रवातले २० लाख भन्दा बढी मानिसलाई प्रभावित पारेको छ, जुन जनसङ्ख्याको करिब १० प्रतिशत हो । यो शताब्दीको सबैभन्दा विनाशकारी चक्रवात मानिएको छ ।

प्रकोप व्यवस्थापन केन्द्र ९डीएमसी० का अनुसार, चक्रवातका कारण पहाडी क्षेत्रहरू अस्थिर बनेका छन् ।

भारी वर्षाले अवरुद्ध भएका क्षेत्रहरूमा राहत पुर्‍याउन हेलिकोप्टर र विमान प्रयोग गरिएको छ । श्रीलङ्का एयर फोर्सले म्यानमाबाट प्राप्त नयाँ राहत सामग्री पनि वितरण गरेको छ ।

श्रीलङ्का सरकारले ६१८ जनाको मृत्यु पुष्टि गरेको छ, जसमा ४६४ जना मध्य पहाडी चिया बगान क्षेत्रका छन् । अझै २०९ जनाको विवरण पत्ता लाग्न बाँकी छ ।

श्रीलङ्काका ७५ हजार भन्दा बढी घरहरूमा क्षति पुगेको छ, जसमा करिब पाँच हजार घर पूर्ण रूपमा नष्ट भएका छन् ।

सरकारले शुक्रबार ठूलो क्षतिपूर्ति योजना सार्वजनिक गरेको छ, जसले प्रभावित परिवारलाई घर पुनर्निर्माण र व्यवसाय सुरु गर्न सहयोग गर्नेछ ।

एक वरिष्ठ अधिकारीका अनुसार, पुनर्निर्माणमा करिब ७ अर्ब अमेरिकी डलर खर्च लाग्न सक्नेछ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलङ्काको अनुरोधमा थप २०० लाख अमेरिकी डलर सहयोग दिने बारे विचार गरिरहेको छ । उक्त रकम सन् २०२३ मा स्वीकृत २.९ अर्ब डलरको चार वर्षे ऋणको अतिरिक्त हो ।

राष्ट्रपति अनुुरा कुमारा दिस्सानायकले भने, “श्रीलङ्काको अर्थतन्त्र सुधार भएको छ, तर यस प्रकोपको सामना एक्लै गर्न पर्याप्त बलियो छैन ।”

सरकारले बाँचेकालाई सुरक्षित ठाउँमा नयाँ घर बनाउन सहयोग दिने योजना बनाएको छ । प्रत्येक मृत्यु वा स्थायी अपाङ्गता परेका व्यक्तिलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिइनेछ ।

केन्द्रीय बैङ्कले सबै बैङ्कलाई कर्जाको पुनःसमायोजन गर्न आदेश दिएको छ, जसले नागरिकलाई आर्थिक राहत प्रदान गर्नेछ ।

मिराज ढुंगानाले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

काठमाडौं । जेन–जी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्कीलाई जेन–जी आन्दोलनको अपमान नगर्न आग्रह गरेका छन् । जेन–जी अभियन्ता प्रकाश शर्मालाई रिहाइ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका उनले यस्तो आग्रह गरेका हुन् । उनले निर्वाचनपछिको सरकारले देशको विकासका लागि ठोस काम गर्ने अपेक्षा आफूहरुले नगरेको पनि बताए । पुराना दलका नेताहरूको सरकारमा पुनः आगमन हुने सम्भावनाप्रति चिन्ता व्यक्त गरे । ढुङ्गानाले अन्तरिम सरकार देश विकासमा असफल भएको अवस्थामा प्रधानमन्त्री कार्कीले राजीनामा दिनुपर्ने माग गरे । अन्तरिम सरकार हाइज्याक भएको भन्दै जेन–जी युवाहरुको माग सम्बोधन नभएको ढुङ्गानाले बताए ।

उनले भने, ‘आगामी कार्यक्रम भनेको चाहीँ हामीले देश विकास होस्, आन्दोलन पछिको सरकारले नगरे अब आउनेवाला निर्वाचित सरकारले गर्छ, ती पुराना शक्तिहरु अथवा पात्रहरुले गर्छन् भन्ने त आश नै गर्न सकिँदैन । किनभने हामीले त बारम्बार विश्वास गरिरहेको हो । आन्दोलनको सरकारले पनि यदि विकास गर्न सक्दैन भने केहीले गर्न सक्दैन त्यही भएर आन्दोलनको बेइज्जत नगरिदिनुहोस् प्रधानमन्त्री ज्यु, तपाईं बरु सक्नु हुन्न भने राजीनामा दिनुहोस् । बाँकी काम हामी सबै मिलेर गोलमेच भनौं न एउटा चाहीँ अन्तरक्रिया गरेर त्यसपछि गरौँला तपाई सक्नुहुदैन भने छाडिदिनुहोस् ।’

जेन–जी युवा प्रकाश शर्माले पनि पछिल्लो समय आन्दोलनको माग सम्बोधन नगरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामाको माग गर्दै पर्चा टाँस्ने कार्यमा सहभागी भएको बताए । उनले शनिवार बेलुका पक्राउ परेको अनुभव साझा गर्दै अन्तरिम सरकार जेन–जी आन्दोलनको आधारमा बनेको भए पनि आफूहरुको माग सम्बोधन नगरेको बताए । भदौ २३ गतेको आन्दोलमा भएको घटनाको छानबिन नगरी २४ गतेको आन्दोलनमा सहभागी भएका युवाहरुलाई मात्र प्रहरीले पक्राउ गरेको उनले बताए ।

 

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान ।  इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार किन्ने नेटवर्कमार्फत हजारौं मानिसलाई ठगी गरेको आरोपमा सर्वोच्च अदालतले उनको मृत्युदण्ड पुष्टि गरेको थियो ।

यो ठगी योजना सन् २०१३ मा उत्तर काजविन प्रान्तमा सुरु भएको थियो । प्रारम्भमा सस्तो मूल्यमा कार दिने वाचा गरिएको थियो र पछि यसले रियल इस्टेट र अन्य लगानी योजनामा पनि विस्तार गरेको थियो । अभियोजनले गफ्फारी र उनका सहकर्मीहरूले जनताबाट ठूलो रकम उठाएर नयाँ निक्षेपमार्फत प्रारम्भिक ग्राहकलाई फिर्ता रकम दिएको आरोप लगाएको थियो ।

इरानी न्यायपालिकाका अनुसार, यस योजनामा हालको विनिमय दर अनुसार करिब तीन करोड ५० लाख डलर बराबरको रकम संलग्न थियो । यस घटनामा करिब २८ हजार उजुरीकर्ता र २८ प्रतिवादी थिए ।

न्यायपालिकाले भन्यो, “सर्वोच्च अदालतले मृत्युदण्ड पुष्टि गरेपछि समेत गफ्फारीले आफ्ना दायित्व पूरा गरेनन्,” जसले पीडितहरूमा गम्भीर आर्थिक र मानसिक क्षति पु¥याएको छ ।

इरानमा हत्या, बलात्कार जस्ता अपराधका साथै आर्थिक अपराध र जासुसी मामलामा पनि मृत्युदण्ड लागू हुन्छ । मानवअधिकार समूह अनुसार, चीनपछि इरान विश्वमा दोस्रो सर्वाधिक मृत्युदण्ड दिने देश हो ।

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु, ७ जना घाइते

उरुम्ची ।  उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

उक्त दुर्घटना राति करिब १० बजे उसु सहरस्थित एक्सप्रेसवेका विभिन्न भागहरूमा क्रमिक रूपमा भएको थियो । पाँच ठूला सवारीसाधन र सात कारहरू आपसमा ठोक्किँदा ठूलो मानवीय क्षति भएको बताइएको छ ।

घाइतेहरूलाई उद्धारकर्मीहरूले अत्यन्तै चाँडो अस्पताल पु¥याएर आपत्कालीन उपचारको व्यवस्था गरिएको छ । अधिकारीहरूका अनुसार एकाएक लागेको बाक्लो हुस्सुका कारण दुर्घटनाको सम्भावना बढेको अनुमान गरिएको छ ।

घटनाको कारण र विस्तृत विवरण पत्ता लगाउन स्थानीय प्रशासनले थप अनुसन्धान सुरु गरेको छ । दुर्घटनामा ज्यान गुमाउने प्रति श्रद्धाञ्जलि र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ, हेनान ।  चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र उपग्रहहरूलाई सफलतापूर्वक आफ्नो कक्षामा पु¥यायो ।

लङ मार्च–८ए रकेट ५०.५ मिटर लामो र ३७१ टन तौलको छ । यसले ७०० किलोमिटर उचाइमा ७ टनसम्मको भार लैजान सक्छ ।

उक्त रकेटले पहिलोपटक पेट्रोलियम–आधारित इन्धनको सट्टा कोइला–आधारित नयाँ इन्धन प्रयोग ग¥यो, जुन वातावरणमैत्री, सुरक्षित र सस्तो मानिन्छ ।

शनिबारको प्रक्षेपण लङ मार्च–८ए रकेटको पाँचौँ उडान र लङ मार्च श्रृङ्खलाको ६१२औँ प्रक्षेपण हो ।

विशेष अदालतमा अधिकारी र भण्डारीको थुनछेक बहस

काठमाडौं । नलिनचोक हेलिपोर्ट निर्माणमा घोटाला गरेको अभियोगमा भ्रष्टाचार मुद्दा चलाइएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्व निर्देशक मुरारी भण्डारीविरुद्ध थुनछेक बहस शुरु भएको छ । विशेष अदालतका न्यायाधीशहरू विदुर कोइराला, हेमन्त रावल र डिल्लीराज श्रेष्ठको संयुक्त इजलासमा अहिले सुनुवाइ चलिरहेको छ । शुक्रबार न्यायाधीश नारायणप्रसाद पौडेलले हेर्न नमिल्नेमा राख्दै प्रतिवादीहरूलाई आज अदालतमा उपस्थित गराउन आदेश दिएका थिए ।

त्यसपछि आज फेरि अधिकारी र भण्डारीलाई अदालत उपस्थित गराई थुनछेक बहस सुरु गरिएको हो । अधिकारीसहितले सम्झौताबमोजिम विस्तृत अध्ययन प्रतिवेदन पेसै नगरी र अन्य प्रक्रिया पनि पूरा नगरी हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको निष्कर्ष अख्तियारको छ । अधिकारी र भण्डारीलाई गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको थियो ।

अख्तियारले बुधबार अधिकारी र भण्डारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आरोप पत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी, तत्कालीन निर्देशक मुरारी भण्डारी, तत्कालीन उपप्रबन्धक हालका प्रबन्धक विक्रम थापा, तत्कालीन वरिष्ठ अधिकृत तथा हालका उपप्रबन्धक सम्वृद्धि श्रेष्ठ, परामर्शदाता गुरुदत्त अधिकारी, अभियन्त्र कन्सल्टिङ प्रालि तथा उक्त कम्पनीका तत्कालीन सञ्चालक विजय थापालाई प्रतिबादी बनाइएको छ । ४ जना फरार छन् । उनीहरू सबैलाई १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा बराबर रकम सामुहिक बिगो कायम गरिएको छ ।

 

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास ।  संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रूपमा शपथ ग्रहण गराउँदै सैन्य शक्ति विस्तार गर्ने निर्णयलाई सार्वजनिक गरेको छ ।

अमेरिकाले लागुऔषध तस्करीविरुद्ध कारबाही गर्ने नाममा क्यारिबियन क्षेत्रमा युद्धपोतको बेडा र विश्वकै सबैभन्दा ठूलो विमानवाहक जहाज तैनाथ गरेपछि मदुरोले व्यापक सैन्य भर्तीको आह्वान गरेका थिए । अमेरिकी सेनाले हालसालै २० भन्दा बढी जहाजमा घातक आक्रमण गरेको भनिएको छ, जसमा कम्तीमा ८७ जनाको मृत्यु भएको भेनेजुएलाले दाबी गरेको छ ।

वासिङ्टनले राष्ट्रपति मदुरोमाथि ‘कार्टेल अफ द सन’ नामक समूहको नेतृत्व गरेको आरोप लगाउँदै गत महिना यस समूहलाई आतङ्कवादी सङ्गठनका रूपमा सूचीबद्ध गरेको थियो । त्यसैबेला मदुरोले अमेरिकी सैन्य उपस्थितिको उद्देश्य आफूलाई सत्ताच्युत गर्नु र भेनेजुएलाको विशाल तेल भण्डार कब्जा गर्नु रहेको आरोप दोहोर्‍याएका छन् ।

काराकासस्थित भेनेजुएलाको सर्वाधिक ठूलो सैन्य परिसर फुएर्टे टियुनामा आयोजित समारोहमा कर्नेल ग्याब्रियल रेन्डोनले ‘हामी कुनै पनि परिस्थितिमा साम्राज्यवादी शक्तिद्वारा आक्रमण हुन दिनेछैनौँ’ भन्दै नयाँ भर्ती सैनिकहरूलाई सम्बोधन गरेका छन् ।

आधिकारिक तथ्याङ्कअनुसार भेनेजुएलामा हाल करिब दुई लाख सैनिक र थप दुई लाख प्रहरी तैनाथ रहेका छन् ।

यसैबीच, आतङ्कवाद र दङ्गा उक्साएको आरोपमा पक्राउ परेका एक पूर्व विपक्षी गभर्नर अल्फ्रेडो डियाजको शनिबार जेलमै मृत्यु भएको मानवअधिकार समूहहरूले पुष्टि गरेका छन् । डियाज सन् २०२४ नोभेम्बरपछि जेलमा मृत्यु हुने कम्तीमा छैटौँ विपक्षी व्यक्ति भएको फोरो पेनाल नामक एनजिओले जनाएको छ ।

गत जुलाईको विवादित निर्वाचनपछि उत्पन्न विरोध प्रदर्शनका क्रममा थुप्रै विपक्षी व्यक्ति पक्राउ परेका थिए । धोखाधडीको आरोप लागे पनि मदुरोले तेस्रो कार्यकालको दाबी गर्नुभएको थियो । ती विरोध प्रदर्शनमा २८ जनाको मृत्यु भएको र करिब दुई हजार ४०० जना पक्राउ परेका थिए । पछि तीमध्ये करिब दुई हजारलाई रिहा गरिएको थियो ।

फोरो पेनालका निर्देशक अल्फ्रेडो रोमेरोका अनुसार डियाजलाई एक वर्षसम्म एकान्त कोठामा राखिएको थियो र उनकी छोरीलाई मात्र एक पटक भेट्न अनुमति दिइएको थियो । समूहका अनुसार भेनेजुएलामा हाल कम्तीमा ८८७ राजनीतिक बन्दी रहेका छन् ।

विपक्षी नेत्री तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचाडोले ‘चुनावपछिको दमन’ का क्रममा राजनीतिक बन्दीहरूको मृत्युको कडा निन्दा गरेका छन् । एडमन्डो गोन्जालेज उरुटियासँगको संयुक्त विज्ञप्तिमा उनले लेखेका छन्, “उपचार अस्वीकार, अमानवीय वातावरण, अलगाव, यातना तथा अपमानजनक व्यवहार समावेश यी मृत्युका अवस्थाले राज्य दमनको निरन्तर ढाँचालाई उजागर गर्छन् ।”

बर्दिया घटना छानबिन गर्न बन्यो समिति

काठमाडौं । बर्दियाको बढैयाताल–४ कि एक युवतीले नागरिकता नपाएपछि आत्महत्याको बाटो रोजेको भनिएको विषय छानबिन गर्न समिति गठन भएको छ । गृह मन्त्रायलले घटनाको सत्यतथ्य छानबिन गर्न मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई हिजो प्रधानमन्त्रीले घटनाको यथार्थ छानबिन गर्न निर्देशन दिएकी थिइन् । आइतबार सचिवस्तरीय निर्णय गर्दै, सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानबिन समिति बनाइएको हो । समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रूपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्ने गरी समितिलाई आदेश दिइएको छ ।

पूर्व राष्ट्रपति भण्डारी सिंहदरबार अवलोकनमा जाँदै

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज (आइतबार) सिंहदरबार अवलोकनका लागि जाने भएकी छिन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला सिंहदरबारमा आगजनी गरिएको थियो । भण्डारी आज दिउँसो २ बजेपछि आगजनीमा परेको सिंहदरबार परिसरको अवलोकनमा जान लागेको उनी निकटस्थहरूले जानकारी गराएका छन् ।

सो क्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका तय भएको छ । ‘सिंहदरबारमा आगजनीपछि क्षति भएका भवनहरूको अवलोनका लागि जान लाग्नु भएको हो,’ उनी निकट स्रोतले भन्यो, ‘सो क्रममा प्रधानमन्त्री कार्कीसँग पनि भेट्ने कार्यतालिका तय भएको छ ।’

पार्टी सदस्यको घर–घरमा अध्यक्ष ओलीको पत्र

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मंसिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट पार्टीका सदस्यको घरघरमा पत्र पठाउन थालिएको छ । पार्टीको बागमती प्रदेशका इञ्चार्ज एवं महाधिवेशनका लागि गठित जनपरिचालन कमिटीका सचिव राजन भट्टराईले लोकतन्त्रका पक्षधर शक्ति एकजुट भएर जानुपर्ने आवश्यकता महसुस गराउने गरी अध्यक्ष ओलीका तर्फबाट पर्चा (पत्र) तयार पारेर पठाउन थालिएको बताए ।

राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आएको सङ्कटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने महत्वपूर्ण अवसरका रूपमा महाधिवेशनलाई रुपान्तरित गर्नुपर्ने अध्यक्ष ओलीको आग्रह छ । उनले एमालेलाई राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पहरेदार, लोकतन्त्रको सारथी, सामाजिक न्याय र सुरक्षाको सूत्रधार, सुशासन र विकासको नायक तथा समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्ने पार्टीका रूपमा चित्रण गरे ।

उनले वर्तमान राजनीतिक परिस्थितिलाई ‘गम्भीर चुनौतीको समय’ भएको टिप्पणी गरे । यही मंसिर २७ गते दिउँसो १२ः३० बजे भक्तपुरको सल्लाघारीमा एमालेको ११औं राष्ट्रिय महाधिवेशन उद्घाटन हुँदैछ । उद्घाटनका लागि एमालेले बागमती, गण्डकी र मधेस प्रदेशका कार्यकर्ता तथा जनसमुदायलाई विशेष रूपमा उपस्थित गराउने योजना बनाएको सचिव डा. भट्टराईले जानकारी दिए ।

मन्त्री घिसिङमाथि मेयर साम्पाङका १० ‘संगीन’ आरोप

काठमाडौं । केहि समयअघिसम्म काठमाडौंका मेयर बालेन (बालेन्द्र) शाहमाथि लगातार खनिंदै आएका धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई पछिल्लो समय ऊर्जामन्त्री कुलमान घिसिङमाथि निरन्तर प्रहारमा उत्रिएका छन् । आउँदो चुनावमा आफ्नो पार्टीलाई बहुमत ल्याउन नदिन देशी–विदेशी तत्वले कुलमानलाई प्रयोग गरेको उनको दाबी छ । केहि दिनअघि फेसबुक लाइभमा बोल्दै साम्पाङले नेपालमा काम गर्ने मान्छे सत्तामा नपुगुन् र देश दरिद्र भइराखोस् भनेर षडयन्त्र भइराखेको आरोप लगाएका छन् ।

त्यसका बाबजुद आफ्नो श्रम संस्कृति पार्टीले बहुमत ल्याएर छोड्ने उनको दावी छ । साम्पाङले घिसिङलाई चुनौती दिँदै भनेका छन्, ‘तपाई मविरुद्ध यसरी प्रयोग भइराख्नु भयो भने हाम्रो श्रम संस्कृति पार्टीले साइड लगाउँछ वा नाघेर जान्छ । त्यो हुनुभन्दा पहिले बचेखुचेको छविलाई बचाउनुस् र मन्त्रीको काममा केन्द्रित हुनुस् ।’ पछिल्ला दिनमा विभिन्न अन्तर्वार्ता र सामाजिक सञ्जालमार्फत साम्पाङले कुलमानको भूमिकाप्रति शंका व्यक्त गर्दै आफूले देखेका ‘रहस्यमय गतिविधि’ बारे खुलेर टिप्पणी र संगीन आरोप लगाएका छन् ।

एक अन्तर्वार्तामा साम्पाङले कुलमान घिसिङलाई कुनै शक्ति वा समूहबाट ‘परिचालित गरेको’ आभास मिलिरहेको बताएका छन् । उनले घिसिङको चरित्रलाई ‘मिस्टेरियस’ अर्थात् रहस्यमयको रूपमा चित्रण गर्दै यस्ता व्यक्तिहरू ‘खतरनाक हुन सक्छन्’ भनेका छन् । हालै घोषणा भएको उज्यालो नेपाल पार्टीमा कुलमानले आफूलाई मूल आधारको जस्तो देखाएको तर नामावलीमा उनको औपचारिक हैसियत नै नरहेको उल्लेख गर्दै साम्पाङले कटाक्ष गरेका थिए ।

उनले भनेका छन्, ‘पार्टीका कागजात हेर्दा उहाँ आधिकारिक रूपमा कतै पनि छैनन्, तर घोषणा कार्यक्रममै गएर आफू नै सबैथोक हो भन्ने शैलीमा प्रस्तुत हुनुभयो । यस्तो दोहोरो व्यवहारले उल्झन देखाउँछ ।’ उनले यस्तो अवस्थालाई भविष्यले पुष्टि गर्ने दाबी समेत गरेका छन् । घिसिङ ‘कसैबाट प्रयोगमा पर्न सक्ने’ सम्भावना समेत साम्पाङले औंल्याएका छन् । एमसीसी कार्यान्वयनमा कुलमानको भूमिका रहेको आरोप लगाउँदै, ‘यस्तो व्यक्तिबाट राष्ट्रिय हितको रक्षा हुने अपेक्षा गर्न कठिन’ भएको टिप्पणी पनि उनले गरेका छन् । उनले भनेका छन्, ‘कुलमान बोर्डिङ पास जस्तो हुन्-कुनै चरणमा आवश्यक तर अन्ततः औचित्यहीन ।’

साम्पाङले वर्तमान सरकार विदेशी शक्तिको समर्थनमा बनेको आफ्नो पुरानो टिप्पणी अहिले सही सावित हुँदै गएको दाबी समेत गरेका छन् । जेन–जेड पुस्तामै पनि निराशा बढेको दावी गर्दै उनले आफ्नो विश्लेषण ‘क्रमशः स्पष्ट हुँदै गएको’ बताएका छन् । श्रम संस्कृति पार्टी दर्तापछि संगठन विस्तार अभियानमा रमाइरहेका साम्पाङ देशका विभिन्न जिल्लामा सभाहरू गर्दैछन् । आफूलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्दै उनले जनमत निर्माणमा तीव्रता बढाएका छन् । यद्यपि, यी कार्यक्रमबीच उनले फेरि एक पटक ऊर्जामन्त्री कुलमानमाथि नयाँ आरोप जोडिदिए ।

फेसबुकमा लेख्दै साम्पाङले भनेका छन्, ‘आफू जहाँ–जहाँ सभाका लागि पुग्यो, त्यही–त्यही स्थानमा विद्युत् लाइन काटिएको छ । भोजपुर, ताप्लेजुङदेखि संखुवासभासम्म आफ्ना गतिविधि गर्दा पटक–पटक बत्ती नबलेको उल्लेख गर्दै उनले यसका लागि प्रत्यक्ष रूपमा घिसिङलाई दोष लगाए । ‘अब हेटौंडा जाँदैछु, त्यहाँ पनि काटिदिनु है’, भन्दै उनले व्यङ्ग्यात्मक शैलीमै कोपिला मारे । उनका यी अभिव्यक्तिले राष्ट्रिय राजनीति र ऊर्जा क्षेत्रमा फेरि एक पटक तरङ्ग पैदा गरेको छ । घिसिङले साम्पाङका आरोपबारे कुनै प्रतिक्रिया नदिए पनि, साम्पाङको निरन्तर टिप्पणीले दुईबीचको तिक्तता झनै सतहमा आएको देखिन्छ ।

हर्क साम्पाङका मन्त्री घिसिङमाथि मुख्य १० आरोप

–कुलमान घिसिङ कुनै शक्तिबाट ‘परिचालित’ छन् ।
–रहस्यमय (मिस्टेरियस) र दोहोरो चरित्रका व्यक्ति भएको आरोप ।
–उज्यालो नेपाल पार्टीमा औपचारिक जिम्मेवारी नभए पनि आफू नै सबैथोक हो भन्ने शैलीमा प्रस्तुत हुँदा भ्रम फैलाएको टिप्पणी ।
–कुलमानलाई कसैले प्रयोग गरिरहेको हुन सक्ने दाबी ।
–एमसीसी ल्याउन कुलमानको हात रहेको आरोप, जुन राष्ट्रियताको पक्षमा हुन नसक्ने दाबी ।
–राष्ट्रिय हितको रक्षा गर्न सक्षम छैनन् भन्ने ठोकुवा ।
–घोषणा सभामा आफ्नो हैसियतभन्दा बढी दाबी गर्दै जनता भ्रमित गरेको आरोप ।
–राजनीतिक रूपमा अनिश्चित, कन्फ्युज्ड व्यवहार देखाएको टिप्पणी ।
–ऊर्जामन्त्री पदको दुरुपयोग गरी आफू जहाँ जाँदा पनि त्यहींको ‘लाइन काटिदिएको’ आरोप ।
–आफ्नो राजनीतिक कार्यक्रममा विद्युत् अवरुद्ध गरेर ‘बाधा सिर्जना’ गरेको आरोप ।

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा लागेको भीषण आगलागीमा २५ जनाको मृत्यु भएको राज्यका मुख्यमन्त्री प्रमोद सावन्तले आइतबार पुष्टि गरेका छन् ।

तटीय राज्यको उत्तरी क्षेत्र अर्पोरामा मध्यराततिर सुरु भएको आगलागीमा ज्यान गुमाउनेहरूमा केही पर्यटक पनि परेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले विज्ञप्ति जारी गर्दै यस दुःखद घटनाप्रति गहिरो शोक व्यक्त गरेका छन् ।

अरब सागरको किनारमा रहेको पूर्व पोर्चुगाली उपनिवेश गोवा आफ्नो जीवन्त रात्रि जीवन, सुनौला बालुवामय समुद्र किनार तथा शान्त तटीय वातावरणका कारण वार्षिक रूपमा लाखौँ पर्यटकको आकर्षण केन्द्र बनेको छ ।

“आज हामी सबैका लागि अत्यन्त पीडादायी दिन हो”, मुख्यमन्त्री सावन्तले विज्ञप्तिमा उल्लेख गरेका छन्, “२५ जनाले ज्यान गुमाउनुका छ जना घाइते घाईते भएका छन् ।” उनले पत्रकारहरूसँग कुरा गर्दै मृतकमध्ये ‘तीनदेखि चार’ जना पर्यटक रहेको बताएका छन्, यद्यपि राष्ट्रियता खुलाइएको छैन ।

सावन्तले यस दुःखद घटनाका कारण पहिचान गर्न तथा जिम्मेवारी निर्धारण गर्न मजिस्ट्रेट स्तरीय छानबिनको आदेश दिइसकिएको जानकारी पनि दिएका छन् ।

प्रेस ट्रस्ट अफ इन्डिया ९पिटिआई० का दृश्यहरूमा उद्धारकर्मीहरूले घाइते तथा मृतकहरूलाई बिर्च नाइटक्लबको साँघुरो ढुङ्गे सिँढीमार्फत स्ट्रेचरमा बोक्दै गरेको देखिन्छ ।

गोवाका फायर चिफ नितिन वी. राइकरले भारतीय प्रसारणकर्ता सिएनएन न्युज १८ सँग कुरा गर्दै अधिकांश व्यक्तिको मृत्यु बेसमेन्ट र भान्सा क्षेत्रतिर फैलिएको धुवाँका कारण श्वासप्रश्वास अवरुद्ध भएर भएको बताएका छन् । उनका अनुसार क्लबमा पार्टी चलिरहेको र ‘फायर शो’ आयोजना गरिएको समयमा काठका संरचनामा आगो लागेर धुवाँले सम्पूर्ण भवन ढाकिएको थियो ।

भारतमा कमजोर निर्माण अभ्यास, भीडभाड र सुरक्षा मापदण्ड पालना नहुनुका कारण यस्ता दुर्घटनाहरू बारम्बार हुने गरेको ज्ञात विषय हो । यसअघि मे महिनामा हैदराबादस्थित तीनतले भवनमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको थियो। त्यसको एक महिनाअघि कोलकाताको होटलमा लागेको भीषण आगलागीमा कम्तीमा १५ जनाले ज्यान गुमाएका थिए, जसमा केही मानिस भाग्न झ्याल हुँदै बाहिर निस्कन वा छतमा चढ्न बाध्य भएका थिए ।

गत वर्ष पश्चिमी राज्य गुजरातको अत्यधिक भीड भएको एक मनोरञ्जन पार्क–आर्केडमा आगलागी हुँदा पनि कम्तीमा २४ जनाले ज्यान गुमाएका थिए ।

अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

लस एन्जलस ।  अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको सिमानामा रहेको दुर्गम र अत्यन्त कम जनसङ्ख्या भएको पहाडी भूभागमा शनिबार साँझ ७।० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको भूवैज्ञानिकहरूले बताएका छन् ।

युएस जियोलोजिकल सर्भेका अनुसार २०ः४१ जिएमटीमा गएको उक्त प्रमुख कम्पनपछिको तीन घन्टाभित्र ५.१ देखि ३.३ म्याग्निच्युडका झण्डै ३० वटा परकम्प महसुस गरिएको थियो ।

भूकम्पको केन्द्र क्यानाडाको युकोन प्रदेशको राजधानी ह्वाइटहर्सबाट करिब १५५ माइल (२४८ किलोमिटर) पश्चिमतर्फ तथा अलास्काको राजधानी जुनोबाट लगभग २३० माइल उत्तर–पश्चिमतर्फ रहेको जनाइएको छ ।

केन्द्र नजिकै पर्ने अलास्काको याकुटाट क्षेत्रमा रहेका प्रहरी प्रमुख थियो केप्सका अनुसार भूकम्प असाधारण रूपमा लामो समय—झण्डै १५ देखि २० सेकेन्ड—सम्म चलेको भए पनि अहिलेसम्म कुनै मानवीय क्षति वा भौतिक नोक्सानीको खबर प्राप्त भएको छैन । उनले यसलाई ‘साँच्चै आश्चर्यजनक’ मानिएको बताएका छन् ।

यसैबीच, अमेरिकी सुनामी चेतावनी प्रणालीले समुद्री सतहमा विशेष परिवर्तन नदेखिएकाले कुनै पनि प्रकारको सुनामी जोखिम नरहेको स्पष्ट गरेको छ ।

मधेशका मुख्यमन्त्री यादवको शपथ लगतै तीन मन्त्री नियुक्त

जनकपुरधाम । मधेश प्रदेशका नव नियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाएका हुन् । उनी यही मंसिर २४ गते विश्वासको मत लिने तयारीमा छन् । कांग्रेस संसदीय दलका नेता यादव यही मंसिर १९ गते ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । यादवलाई कांग्रेस, जसपा नेपाल, जनमत, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका सांसदहरुले समर्थन गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि मधेश सरकारको नेतृत्व कांग्रेस दलका नेता यादवको जिम्मेवारीमा आएको हो । गत कार्तिक २३ गते राति संविधानको धारा १६८ को ३ बमोजिम एमालेका यादव मुख्यमन्त्री नियुक्त हुँदा सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन र विश्वासको मत पाउन नसके संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै अर्को सरकार गठन गर्न आदेश दिएको थियो ।

यस्तै मुख्यमन्त्री यादवले आजै तीन जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका जंगीलाल राय, जनमतका महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिस पटेललाई मन्त्री नियुक्त गरेका हुन् । जनमतका महेश प्रसाद यादवले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । कांग्रेसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादीका कनिस पटेलको मन्त्रालय भने तोकिएको छैन । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको सपथ गराएका छन् ।

मुख्यमन्त्री यादवको आज शपथ, २४ गते विश्वासको मत

जनकपुरधाम । मधेस प्रदेशका नव नियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (केहीबेरमा) पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । मुख्यमन्त्रीको कार्यालयले आज शपथ ग्रहण समरोहका लागि मधेस भवनमा तयारी गरेको छ । कांग्रेस संसदीय दलका नेता यादव ७ दलका ७७ प्रदेश सभा सदस्यहरूको समर्थनमा यही मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने बताइए पनि दलहरूमा आन्तरिक तयारी नपुगेकाले मन्त्रिमण्डल गठन निश्चित छैन ।

संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि धारा १६८ को उपधारा २ बमोजिम कांग्रेस दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् । यस्तै नव नियुक्त मुख्यमन्त्री यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन् । आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनको बैठकले आगामी मंसिर २४ गते विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक राम असिस यादवले जानकारी दिएका छन् ।