`

‘कोल्याटर’ बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले अर्काको ‘कोल्याटर’ बेचेर आफूलाई फाइदा हुने काम गर्नु भनेको ‘पार्ट अफ करप्सन’ रहेकाले यसलाई राष्ट्र बैंकले क्षम्य नगर्ने बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६ औं वार्षिक साधारण सभामा बोल्दै गभर्नर पौडेलले यस्तो गतिविधिलाई कठोररुपमा लिने बताएका हुन् । ‘सरकारी बैंकहरुबाट यो मिलाइ दिन्छु भनेर पैसा माग्यो भने सरकारले रिस्क लिन्छ । तर निजी बैंकहरुबाट त्यस्तो भएमा हामी गम्भीर रूपमा लिनेछौँ’, गभर्नर पौडेलले भने, ‘कुनै पनि व्यक्तिले जबरजस्ती अर्काको कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु पार्ट अफ करप्सन हो । यसलाई नेपाल राष्ट्र बैंकले क्षम्य रूपमा लिँदैन ।’

त्यस्तै, गभर्नर पौडेलले आर्थिक गतिविधि चलायमान बनाउनका लागि राष्ट्र बैंकले विभिन्न नीति परिमार्जन गरेको बताए । उनले भने, ‘मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा वित्तीय संस्थाहरूको नाफा बढाउनका लागि सहज बनाएका छौँ । महानगरमा रहेका धेरै बैङ्कहरूका शाखा बन्द गर्ने बाटो खोलिदिएका छौँ ।’ बैंकहरुको हकमा हामीले राम्रो नाफा र लगानी गरेर डिजिटल कारोबारमा ध्यान दिँदै अर्थतन्त्रको गतिमा सहयोग पुगोस् भनेर नै नेपाल राष्ट्र बैंकले काम गरिरहेको गभर्नर पौडेलले बताए । ‘बैंक तथा वित्तीय संस्थाहरूको नाफामा ध्यान दिइरहेका छौँ । तर, यसमा सहि के हो र गलत के हो भनेर पोलिसी तयार पार्छौँ । सबैको गुनासो हेरे हामी अगाडी बढ्ने गरेका छौँ’, गभर्नर पौडेलले भने ।

बैंक तथा वित्तीय संस्थाहरूमा थुप्रिएको पैसा लगानी गर्नका लागि नेपाल राष्ट्र बैंक केन्द्रित रहेको उनले बताए । ‘अर्थतन्त्रको मुभमेन्ट मास साइकोलोजीमा भर पर्छ । गएको १० वर्षमा धेरै परिवर्तन भएको छ । यो बिचमा हिमालयन जाभादेखि आइटी क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । विभिन्न ठाउँमा सडक तथा पूर्वाधारमा राम्रो प्रगति भएको छ’, उनले भने । श्रीलंका अप्ठ्यारो अवस्थामा पुगेर पनि सुधारको गति समातेकाले नेपालले पनि गति समात्नेमा गभर्नर आश्वासन दिए । उनले राम्रो काममा केन्द्रित हुनुपर्ने बताए ।

अहिले मनोबल कमजोर रहेकाले यसलाई उकास्नका लागि आवश्यकता रहेको गभर्नर पौडेलले बताए । उनले भने, ‘हामी आर्थिक नीतिहरूमा बलियो छौँ । तर, मनोबल कमजोर छ । कमजोर मनोबललाई उकास्न राम्रो विषयहरूको केन्द्रित रहनु पर्छ । जस्तै, निर्यातमा राम्रो गरिरहेका अलैँची जस्तालाई बढवा दिनुपर्छ । जे चाहिन्छ त्यसका लागि हामी राम्रा लाइनमा जान सकिन्छ ।’

सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तिहरूले समेत नेपालमा केही नहुने भन्दै आफ्ना सन्तान विदेश पलायन गराएको गभर्नर पौडेलको आरोप छ। उनले कार्यक्रममा बोल्दै भने, ‘एक दशकभन्दा बढी यो देशमा केही हुँदैन भनेर छोराछोरी सबैलाई विदेश पठाइयो । उनीहरू सबैलाई फर्काएर ल्याउनु पर्छ । तर, उनीहरूलाई ल्याएर मन्त्री बनाउने र राजनीतिक रेसमा लैजान हुँदैन ।’

कुनै पनि कुरा रातारात गर्छु भन्ने कुनै फर्मुला नहुने भएकाले बिस्तारै गर्दै जानुपर्ने गभर्नर पौडेलको भनाई छ । ‘फेलियर’ हुनु भनेको पार्ट आफ बिजनेस नभएकाले नराम्रो होइन, राम्रो स्टोरीहरूको प्राथमिकता दिनुपर्ने उनले बताए । उनले भने, ‘म मीनबहादुर जीलाई हेर्छु । उहाँले दुई महिनामा गरेर देखाउँछु भन्नु भएको थियो । त्यस अनुसार उहाँले गरेर देखाउनु समेत भयो ।’

कालोसूचीको व्यवस्थाबारे नेपाल राष्ट्र बैंकले अध्ययन गरिरहेको बताउँदै उनले भने, ‘हाम्रोमा धेरै कालोसूचीमा परेका छन् । निर्माण उद्योगहरूमा माइक्रोफाइनान्स जस्तो मोडल भइरहेको छ । एउटाले राम्रो गरेन भने सबैलाई राखे जस्तो भएको छ ।’ गभर्नर पौडेलले भने, ‘कालोसूचीका बारेमा अहिले रिभ्यु पनि गर्दैछौं । मौद्रिक नीतिमा पनि आएको छ । एउटा सबैमा चासो पनि छ । जति हामीले अपेक्षा गरेका थियौं, मुलुकमा लगानीको ग्रोथ हुन सकिरहेको छैन । तरलता धेरै छ । क्रेडिट ग्रोथ नहुनेको कारण धेरै हुन सक्छ । त्यसआधारमा एउटा कारक धरै मान्छेहरु कालोसूचीमा परेका छन् । हाम्रो देशमा ऋणीहरुको संख्या १८–१९ लाखको संख्यामा छ । त्यसमा युनिक ब्रोआरहरु ८–९ लाख छ । डेढ लाख ऋणीलाई अहिले कालोसूचीमा राखेका छौं ।’ गभर्नर पौडेलले निर्माण क्षेत्रमा ग्रुपमा गरिएको लगानीमा एक जनाले नराम्रो गरे सबै कालोसूचीमा पर्ने समस्यालाई समेत हटाइने बताए । धितो राखेर ऋणीहरुले लोनहरु लिने र धितो लिलामी गर्दा कम मूल्यांकन गरेर बेच्ने प्रवृत्तिलाई हटाइने समेत गभर्नर पौडेलले बताए ।

अध्यक्ष अग्रवालको प्रश्न : यो सरकारको आयु कति हो ?

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको अर्थतन्त्र अहिले आर्थिक संक्रमणको मोडमा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निजी क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव रहेको, बैंकिङ क्षेत्रमा अधिक तरलता तथा घट्दो ब्याजदरको व्यवस्थापनको चुनौति रहेको बताए ।

उनले लगानी वातावरणमा अनिश्चितता र राजश्व संकलनको दबाब रहेको बताए । उनले निजी क्षेत्रको साथमा सरकार रहेको बताइए पनि अन्तरिम सरकारको आयु कति हो ? भन्दै प्रश्न गरेका छन् । अन्तरिम सरकारले ल्याएका नीतिहरु विधि विपरित रहेको भन्दै स्थायी सरकारले उल्ट्याइ दिने र निजी क्षेत्रको लगानी डुब्ने समस्या कायम रहेको बताए । वित्तीय पत्रकारितामा गलत तथ्य, अपुष्ट सूचना र अनावश्यक उत्तेजनाले बजारमा अस्थिरता ल्याउने पनि उनले बताए । सरकारले नीति बनाउने, निजी क्षेत्रले अर्थतन्त्र चलाउने, नियामकले अनुशासन कायम गर्ने र पत्रकारले पारदर्शिता सूचित गर्नुपर्ने बताए ।

उनले भने, ‘अर्थमन्त्री ज्युले भर्खरै भन्नुभयो, निजी क्षेत्रको साथमा सरकार छ । निजी क्षेत्र र सरकार त साथमा छ । यो सरकारको आयु कति हो । तर स्थायी सरकार हाम्रो साथमा छैन जस्तो लाग्छ । सरकारले जे पनि नीतिहरु ल्याउँछ, स्थायी सरकारले त्यसलाई कानून विपरित भयो भनेर पल्टाइदिन्छ। वित्तीय पत्रकारितामा गलत तथ्य, अपुष्ट सूचना र अनावश्यक उत्तेजनाले बजारमा अस्थिरता ल्याउनसक्छ ।’

उनले भने, ‘सरकारले नीति बनाउने हो, निजी क्षेत्रले अर्थतन्त्र चलाउने हो, नियामकले अनुशासन कायम गर्ने हो र पत्रकारले पारदर्शिता सूचित गर्ने हो । यो चार स्तम्भको सहकार्य बिना आर्थिक वृद्धि सम्भव छैन । नेपालको अर्थतन्त्र अहिले आर्थिक संक्रमणको मोडमा छ । निजी क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव छ । बैंकिङ क्षेत्रमा अधिक तरलता तथा घट्दो ब्याजदरको व्यवस्थापनको चुनौति छ । लगानी वातावरणमा अनिश्चितता छ । राजश्व संकलनको दबाबमा छ ।’ उनले निजी क्षेत्र लामो समयसम्म टिक्नसक्ने स्थिति नरहेको बताए । निर्यात अभिवृद्धि दर, उत्पादकत्व वृद्धि जस्ता संरचनागत आर्थिक आवश्यकताहरु देखिएको बताए ।

एआईले समाचारको मूल्य र मान्यता मारिरहेको छ : सचिव अर्याल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले एआईले गर्दा समाचारको मूल्य र मान्यता मारिरहेको बताएकी छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएकी हुन् । समग्र पत्रकारिता नै गम्भीर मोडमा रहेको उनको भनाइ छ । एआईले पत्रकारिता कहाँ पुर्‍याउने हो भन्ने अनिश्चितता बढाएको उनले बताइन् । एआईले गर्दा समाचारको कन्टेनको मूल्य र मान्यता मरेको उनको भनाइ छ ।

पत्रकारिता क्षेत्रलाई भरपर्दो र विश्वासिलो बनाउन आवश्यक रहेकाले पत्रकारहरूलाई यसमा ध्यान दिन आग्रह गरिन् । उनले भनिन्, ‘समग्र पत्रकारिता क्षेत्र गम्भीर मोडमा रहेको छ । एआईले पत्रकारिता कहाँ पुर्‍याउने भन्ने अनिश्चितता बढाएको छ । एआईले गर्दा समाचारको कन्टेनको मूल्य र मान्यता मरेको छ ।’ पत्रकारिताको सकारात्मक कदममा सरकार सधैँ साथमा रहेको उल्लेख गर्दै सचिव अर्यालले सकारात्मक कदमका लागि सरकारले सधैँ सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

आलु भित्राउँदै पनौतीका किसानहरु (तस्बिरहरु)

काठमाडौँ । यति बेला पनौती नगरपालिका ९ सुन्थान क्षेत्रका किसानहरु आलु भित्राउन व्यस्त देखिन्छन् ।सो क्षेत्रमा धान रोप्ने र भित्राउने काम सके पछि असोजको पहिलो हप्ता आलु रोप्न सुरु गरी अहिले भित्राउने काम भइरहेको छ ।

सो क्षेत्रका किसानहरूले वर्षमा दुईपटक सम्म आलु उत्पादन गर्ने गर्दछन् ।

आलुमा अझै पूर्णरुपमा आत्मनिर्भर बन्न नसकेको नेपालमा पछिल्लो पाँच वर्षको तथ्यांक अनुसार वर्षेनी ६ देखि ८ अर्ब रुपैयाँ बराबरको आलु आयात भइरहेको देखिन्छ। गत आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब १० करोड ४२ लाख रुपैयाँ बराबरको २ लाख ८७ हजार टन आलु आयात भएको देखिन्छ ।

नेपालमा आलुको वार्षिक उत्पादन करिब ३१ देखि ३५ लाख मेट्रिक टन रहेको र वार्षिक माग करिब ३३ देखि ३७ लाख मेट्रिक टन रहेको तथ्यांकको तथ्याङ्क देखिन्छ, यो उत्पादनले नेपाललाई ११ महिनाका लागि आत्मनिर्भर बनाएको देखाउँछ भने बाँकी १ महिनाका लागि आयात गर्नुपर्न अवस्था छ ।

नेपालमा उत्पादित अधिकांश आलु घरेलु रुपमा खपतमा प्रयोग हुन्छ। पहाडी क्षेत्रमा यो मुख्य खाद्यबाली हो भने सहरी क्षेत्रमा तरकारी र खाजाको रूपमा प्रयोग हुन्छ। औद्योगिक क्षेत्रमा भने चिप्स र फिंगर चिप्स बनाउन आलुको प्रयोग हुन्छ।

तस्बिर: विजेन अमात्य/ नेपाल फोटो लाइब्रेरी ।

जनार्दन शर्मालाई गृह जिल्लामै कालो झण्डा

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनादर्श शर्मालाई गृह जिल्ला रुकुम पश्चिममै कालो झण्डा देखाइएको छ । प्रलोपा गठनपछि पहिलो पटक गृह जिल्ला पुगेका शर्मा प्रभाकर शर्मालाई रुकमका कार्यकर्ताहरुले कालोझण्डा देखाएका हुन् ।

स्थिति अप्रिय हुन नदिन सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । शर्मा आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज चढेर सदरमुकाम खलंगा पुगेका थिए। उनी विमानस्थलबाट बाहिरिने क्रममा केही युवाहरुले कालो झण्डा देखाएका हुन् ।

 

राज्यका कमजोर नीतिहरुले नागरिकलाई अतिवादतिर धकेलिरहेको छ : सुमना श्रेष्ठ

काठमाडौं । पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले हाल देखिएको राजनीतिक अस्थिरता, राज्यका दमनकारी कदम र न्यायिक प्रक्रियाको दुरुपयोगले नागरिकलाई चरम निराशातिर धकेलिरहेको दाबी गरेकी छन् । उनले राज्यका निर्णय र व्यवहारले नागरिकको असन्तोषलाई ‘अतिवादतर्फ मोडिने वातावरण’ सिर्जना गरिरहेको आरोप लगाएकी छन् ।

श्रेष्ठका अनुसार राज्यका निकायहरूले अधिकार दुरुपयोगमाथि ध्यान नदिई उल्टै सामाजिक सञ्जालमा लेखिएको एक स्टाटस वा अभिव्यक्ति मात्रकै आधारमा सर्वसाधारणलाई पक्राउ र मुद्दा चलाउने प्रवृत्ति बढ्दै गएको छ । सामाजिक सञ्जाल ट्वीटर (एक्स) मा लेख्दै उनी भन्छिन्, ‘धमिलो पानीमा माछा मार्न आएका स्वार्थ समूह र सामान्य नागरिकलाई एउटै घेरामा राखेर मुद्दा थोपर्ने क्रम तीव्र हुँदैछ । शक्तिशालीहरू जोगिन्छन्, हाम्रो जस्ता सर्वसाधारण मात्र मुद्दाको भार बोकेर हैरान हुन्छन् ।’

उनले हालका घटनाक्रममा सुरक्षाकर्मीमाथि पनि आक्रमण भएको स्वीकार गरे पनि त्यसको पृष्ठभूमि बुझिनु आवश्यक भएको बताएकी छन् । दशकौंको कुशासन, युवामाथि गोली हानिएको दृश्य र नेताहरूका भड्काउने अभिव्यक्तिले परिस्थितिलाई विष्फोटक बनाएको उनको तर्क छ । ‘दोषीलाई कारबाही गर्नुको साटो शक्तिहीन नागरिकमाथि बदला लिन खोज्नुबाट राज्यको उद्देश्य नै शंकास्पद देखिन्छ’, उनले आरोप लगाएकी छन् ।

श्रेष्ठले भदौ २३ को दमन र त्यसपछि देखिएको राजनीतिक मोडबारे समेत टिप्पणी गर्दै सरकार ढल्नुको मुख्य कारण ‘जनताको आक्रोश मात्र नभई नेतृत्वले आफ्नै सुरक्षाको चिन्ता लिएर भाग्ने अवस्था उत्पन्न हुनु’ रहेको उल्लेख गरेकी छन् । उनका अनुसार अन्य स्वार्थ समूहको घुसपैठ पहिल्यैदेखि सक्रिय भए पनि राज्यले त्यस्तो वातावरण सिर्जना नगरेको भए ती समूह बलिया हुन नसक्ने थिए ।

उनले अतीतका हिंसात्मक आन्दोलनहरूमा कहिल्यै न्यायिक छानबिन नभएको र राजनीतिक शक्तिले मोलतोलमार्फत मुद्दा मिलाउने प्रथाले प्रतिहिंसाको संस्कार झनै मजबुत बनाएको बताइन् । ‘अहिले पनि त्यहीं चक्र दोहोरिँदैछ । आज थामिए जस्तो देखिएको जनआक्रोश भविष्यमा कति ठूलो रुपमा विष्फोट हुन सक्छ भन्न सकिँदैन’, उनले सचेत गराएकी छन् । श्रेष्ठका अनुसार अहिले देशलाई आवश्यक परेकै कुरा भनेको राज्यका गल्ती स्वीकार गर्ने साहस, सबै पक्षलाई निष्पक्षरूपमा सुन्ने क्षमता र न्यायिक प्रक्रियामा समभाव हो । ‘राज्य नागरिकका लागि हो भन्ने कुरा व्यवहारमै देखिनु पर्छ’, उनी भन्छिन् ।

आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौं : अध्यक्ष पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राख्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६ औं वार्षिक साधारण सभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आर्थिक मुद्दाहरुलाई पहिलो प्राथमिकता दिएर तथ्यपरक समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।

विदेशी विनिमय सञ्चिति समानान्तर वचतको हिसावले वाह्य क्षेत्र राम्रो रहेको तर वाह्य क्षेत्र राम्रो भए पनि आन्तरिक अर्थतन्त्र चापमा रहेको उल्लेख गरे । बैंकमा लगानीयोग्य रकम रहेको, ब्याज एकल बिन्दुमा भए पनि समग्र बजारको माग बढ्न नसकेको उनले बताए । मागमा वृद्धि आउन नसक्दा उद्योगधन्दाहरु न्युन क्षमतामा सञ्चालन भइरहेका बताए । अहिलेको सबैभन्दा ठूलो चुनौति प्रणालीमा रहेको लगानीयोग्य रकम स्थिर हुनु रहेको उनको भनाइ छ ।

उनले भने, ‘राजनीति भन्दा माथि आर्थिक मुद्दाहरुलाई पहिलो प्राथमिकता दिएर तथ्यपरक समाचार सम्प्रेषण गर्न अनुरोध गर्दछु । निजी क्षेत्रका तथ्यपरक आवाजहरुलाई आफ्नो आफ्नो सञ्चारमाध्यमबाट सरकार, नियामक निकाय, सर्वसाधारणसम्म पुर्‍याउनु भएको छ । विदेशी विनिमय सञ्चिति समानान्तर वचतको हिसावले वाह्य क्षेत्र राम्रो छ । वाह्य क्षेत्र राम्रो भए पनि आन्तरिक अर्थतन्त्र चापमा रहेको छ ।’

उनले भने, ‘बैंकमा लगानीयोग्य रकम छ, ब्याज एकल बिन्दुमा छ, समग्र बजारको माग बढ्न सकेको छैन । मागमा वृद्धि आउन नसक्दा उद्योगधन्दाहरु न्युन क्षमतामा सञ्चालन भइरहेका छन् । अहिलेको सबैभन्दा ठूलो चुनौति हाम्रो प्रणालीमा रहेको लगानीयोग्य रकम स्थिर हुनु हो जस्तो लाग्छ । पैसा स्थिर बस्नु भनेको अर्थतन्त्रका लागि राम्रो होइन ।’ उनले निजी क्षेत्रको लगानी बढ्यो भने मात्रै मुलुकको अर्थतन्त्र बलियो र विस्तार हुने बताए । अर्थतन्त्र सुदृढ भए मात्रै मुलुक समृद्ध हुने उनले बताएका छन् ।

निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैन : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र उकास्न नसकिने बताएका छन् । आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६ औं वार्षिक साधारण सभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नेपालमा फरक रहेको भन्दै निजी क्षेत्रलाई भरसक कुनै पनि नीति निर्माणमा सहभागी नगराउने प्रचलन अन्त्य गर्नुपर्ने बताए । उनले कुनै पनि परिवर्तनपछि आर्थिक र नीतिगत पक्षमा एक भएर अघि बढ्ने कुरामा नेपाल पछि परेको जिकिर गरे । उनले निजी क्षेत्रलाई सँगसँगै लिएर अगाडि जान नसकेसम्म अर्थतन्त्र सबल बन्न नसक्ने जिकिर गरे ।

उनले भने, ‘हामीकहाँ के छ भने प्राइभेट सेक्टरलाई हेर्ने दृष्टिकोण र प्राइभेट सेक्टरलाई सहभागी गराउने कुरा भरसक नगराउने चलन छ । त्यसैको फलस्वरुप चाहे कुनै पनि आन्दोलनबाट व्यवस्था परिवर्तन हुँदाखेरि पनि हाम्रा पोलिसीगत कुराहरु र खास गरेर इकोनोमिक एजेण्डामा अगाडि बढ्ने कुरामा हामी पछाडि परेका छौँ । जबसम्म निजी क्षेत्रलाई सँगसँगै लिएर अगाडि जान सकिँदैन, निजी क्षेत्रलाई टाढा राखेर बनाउने हरेक पोलिसीहरु प्रभावकारी बन्दैनन् । इकोनोमिक एक्टिभिटी बढाउने कुरा सम्भव हुँदैन । यो प्रमाणित पनि भइसकेको छ । जबसम्म कलेक्टिभ हिसावको एप्रोचमा जान सक्दैनौ तबसम्म वास्तवमा हामीले रियल खोजेको रिजल्ट आउन सक्दैन ।’ अध्यक्ष ढकालले आन्तरिक पुँजी परिचालन गरेर धेरै ठूला आयोजनाहरु बनाउन सकिने बताए । नेपालमा केही सम्भावना छैन भन्ने स्थानबाट नेपालमै सम्भावना छ भन्ने सन्देश आफूहरुले दिन सकेको बताए ।

निर्वाचनको मिति सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु हो : मन्त्री खनाल

काठमाडौं । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले लोकतन्त्रलाई संस्थागत गर्नको निमित्त निर्वाचन अपरिहार्य रहेको बताएका छन् । आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६ औं वार्षिक साधारण सभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले वर्तमान सरकारलाई तीन वटा काम पूरा गर्नुपर्ने दायित्व रहेको र त्यसमध्ये एउटा निर्वाचन भएको जिकिर गरे ।

उनले निर्वाचनको मिति सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु रहेको बताए । अनिश्चयले युवालाई थप निराश बनाउने बताए । उनले संविधान बमोजिम समयमा निर्वाचन गर्नुपर्ने दायित्व वर्तमान सरकारको रहेको बताए । मुलुक अहिले परिवर्तनको संघारमा रहेको तर परिवर्तन भइनसकेको बताए । उनले जेन–जी आन्दोलन आर्थिक समृद्धिको लागि नभइ भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि भएको बताए ।

उनले भने, ‘अहिले हाम्रो मुलुक परिवर्तनको संघारमा छ । परिवर्तन भइसकेको छैन । त्यसका त्यसका तरंगहरु अझै पनि छन् । त्यो तरंगले हामीलाई गलत दिशामा नपुर्‍याओस् भन्नुको निमित्त खासगरी जेन–जी आन्दोलन भनेको आर्थिक समृद्धिको लागि थियो भन्ने कुरा मैले बुझेको छैन । उहाँहरुको नारा दुई दिनमा हामीलाई आर्थिक समृद्धि चाहियो भन्ने पनि थिएन । हामीलाई मुलुकभित्रै अवसर मिलोस् र बाहिर जान नपरोस् भन्ने पनि थिएन ।’

उनले भने, ‘दुई वटा मात्रै मुद्दा थियो । एउटा भ्रष्टाचार अत्यन्त बढ्यो । राज्यका शक्तिशाली नेतृत्वदायी व्यक्तिहरुबाटै भ्रष्टाचारको संरक्षण भयो । त्यसको अन्त्य हुनुपर्छ र अर्को सुशासन कायम हुनुपर्छ । कम्तिमा पनि नागरिकले सरकारको सेवाग्राहीको रुपमा पाउनुपर्ने सेवा सही तरिकाले पाउनुपर्‍यो भन्ने दुई वटा माग थियो । उहाँहरुको त्यो माग निरन्तर छ ।’

मन्त्री खनालले थपे, ‘त्यस क्रममा जुन घटना घट्यो त्यसले गर्दाखेरि तत्कालीन सरकारले आफ्नो जिम्मेवारी त्याग गर्नुप¥यो । त्यसको विकल्पमा एउटा नयाँ सरकार गठन भयो । त्यसकारणले तेस्रो कार्यसूची भनेको निर्वाचन लोकतन्त्रलाई संस्थागत गर्नको निमित्त निर्वाचन अपरिहार्य छ । संविधान बमोजिम समयमा निर्वाचन गर्नुपर्छ भनेर तीन वटा दायित्व अहिले यो सरकारलाई छ । त्यसैगरी त्यो तीन वटा दायित्व हाम्रो पत्रकार र नागरिक समाजलाई पनि छ । तीन वटा दायित्वमध्येको निर्वाचन समयमा सम्पन्न गर्नुपर्छ भन्ने यो अभियानमा हामी सबै लाग्नुपर्छ । यहाँहरुले पनि त्यो दबाब त्यो आवाज उठाउनु पर्छ । कुनैपनि हिसावले निर्वाचनको मिति सार्नु भनेको हामीले मुलुकलाई अनिश्चयको दिशामा लैजानु हो । त्यो अनिश्चयले युवालाई थप निराश बनाउँछ । र मानिसहरु निराश भइसकेपछि मानिसहरुले व्यक्त गर्ने धारणा, मानिसहरुले गर्ने व्यवहार मानिसहरुले गर्ने क्रियाकलापहरु अन्तर आउँछ । त्यो अन्तर कस्तो हुन्छ भन्ने कुरा हामी सबैले पटक–पटक देखेका छौँ ।’ अर्थमन्त्री खनालले समाजमा रहेका गलत जुनसुकै क्रियाकलापलाई पनि नियन्त्रण गर्नैपर्ने बताए ।

अंशु गौतम हत्याकाण्ड : छिमेकी नै पक्राउ

विराटनगर । मोरङको लेटाङमा १३ वर्षीया बालिका अंशु गौतमको हत्या प्रकरणमा प्रहरीले स्थानीय छिमेकी पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । स्तब्ध बनाउने उक्त घटनामा लामो समयसम्म दोषी पहिचान नहुँदा प्रहरीले आलोचना खेपिरहेको अवस्थामा, अन्ततः प्रहरीले छिमेकीलाई मुख्य अभियुक्तका रूपमा पक्राउ गरेको पुष्टि भएको छ ।

असोज २१ गते दिउँसो घरबाट निस्किएकी अंशु कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत भेटिएकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा फेला परेको थियो । घटनापछि मोरङ प्रहरी, कोशी प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सम्मिलित संयुक्त टोलीले दुई महिनासम्म अनुसन्धान चलाएको थियो ।

अनुसन्धानकै क्रममा प्रहरीले लेटाङ–२ का करिब ५० वर्ष उमेर समूहका छिमेकी पुरुषलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिले प्रारम्भिक सोधपुछमै अंशुको हत्या स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ । उनीले मृतक परिवारसँगको पुरानो रिसइबीका कारण योजनाबद्ध रूपमा घटना घटाएको प्रारम्भिक अनुमान रहेको सुराकीहरूले बताउँदै आएका छन् ।

तर औपचारिक रूपमा प्रहरीले आरोप र घटनाको विस्तृत विवरण सार्वजनिक गरेको छैन । मोरङ प्रहरी प्रमुख कवित कटवालका अनुसार अनुसन्धान अन्तिम चरणमा पुगेको छ र केही महत्वपूर्ण पक्ष खुल्न बाँकी रहेको छ । अंशु गौतम लेटाङस्थित लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन् । स्थानीय समुदाय यस घटनापछि त्रसित बनेको छ भने परिवार न्यायका लागि प्रतीक्षारत छ ।

मर्मतपछि रसुवागढी जलविद्युत आंशिक सञ्चालनमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ ।

गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विस्फोटनबाट आएको बाढीले आयोजनाको बाँधलगायतका संरचना (हेडवक्र्स) मा ठुलो क्षति पुर्‍याएको थियो । हेडवक्र्सको मर्मतपछि अस्थायी रूपमा नदीबाट पानी पथान्तरण (डाइभर्सन) गरी विद्युत गृहमा रहेका तीन वटा युनिटमध्ये एउटा युनिट शनिवारबाट सञ्चालनमा ल्याइएको हो । १११ मेगावाट जडित क्षमताको आयोजनाको एउटा युनिटबाट ३७ मेगावाट विद्युत् उत्पादन हुन्छ ।

बाँकी दुईवटा युनिट एक महिनाभित्र सञ्चालनमा ल्याउने र हेडवक्र्स क्षेत्रको बाँकी मर्मत कार्य आगामी वर्षायाम अगाडि नै सम्पन्न गर्ने गरी पुनर्निर्माणको काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए ।

कार्यकारी निर्देशक सिलवालले प्राधिकरण, चिलिमे र रसुवागढी हाइड्रोपावर कम्पनीका पदाधिकारी तथा कर्मचारीको अथक प्रयास र मेहनतबाट क्षति पुर्याएका संरचनाको मर्मत गरी आयोजना सञ्चालनमा ल्याउन सफल भएको उल्लेख गरे । उनले भने ‘आयोजनाबाट विद्युत् उत्पादन सुरुभएपछि हिउँद यामको विद्युत् माग व्यवस्थापन गर्न केही सहज हुनेछ ।’

बाढीले आयोजनाको हेडवक्र्स क्षेत्रमा पानीसँग बगेर आउने काठ, झार, बोटबिरुवाजस्ता वस्तु रोक्ने मेसिन, गेटलगायतका उपकरण बगाएको थियो । हेडवक्र्स नियन्त्रणलगायतका भवनमा दुई मिटरभन्दा बढी लेदो थुप्रिएको थियो । हेडवक्र्समा ठूल्ठूला ढुङ्गा आएका थिए र पानीलाई सुरुङतर्फ पठाउन बनाएका संरचना भत्किएका थिए । साथै, विद्युत् उत्पादनपछि नदीलाई पानी पढाउन प्रयोग हुने टेलरेसबाट पानी बसेर टर्वाइन रहेको तला पूर्ण रूपमा डुबेको थियो ।

उक्त दिन जलविद्युत आयोजनामा कार्यरत २२ जना कर्मचारीहरूलाई हेडवक्र्स क्षेत्र र आवास क्षेत्रबाट सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो । कर्मचारी आवास क्षेत्र पूर्ण रूपमा बगाएको थियो । बाढीका कारण आयोजनालाई मात्र नभई स्याफ्रुबेंसीबाट आयोजना स्थलसम्म जाने मुख्य राजमार्ग पहिरोबाट विभिन्न ठाउँमा अवरोध भएको थियो ।

आयोजनाबाट १६ पुस २०८१ बाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु भएको थियो । तर, असारमा आएको बाढीले क्षति पुर्‍याएपछि आयोजनाबाट विद्युत् उत्पादन बन्द थियो । आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि वार्षिकरुपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन हुने छ । उक्त विद्युत् बिक्रीबाट कम्पनीलाई वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुनेछ ।

मधेशका नव नियुक्त मुख्यमन्त्री यादवको आज शपथ

जनकपुर । मधेश प्रदेशका नव नियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (आइतबार) पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । मंसिर १९ गते सात दलका ७७ प्रदेशसभा सदस्यहरूको समर्थनमा कांग्रेस संसदीय दलका नेताका तर्फबाट मुख्यमन्त्री नियुक्त यादवले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । मुख्यमन्त्रीको कार्यालयका अनुसार जनकपुरधाममा शपथ ग्रहणका सबै तयारी पूरा भएका छन् ।

यसअघि संविधानको धारा १६८(३) बमोजिम ठूलो दलका हैसियतमा नियुक्त भएका नेकपा एमालेका नेता सरोजकुमार यादवले विश्वासको मत लिनसक्ने सम्भावना नदेखिएपछि मंसिर १७ गते राजीनामा दिए थिए । सर्वोच्च अदालतले उनी नियुक्त भइसकेपछि २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो । विश्वासको मत प्राप्त गर्ने परिस्थिति नबनेपछि उनले पद त्यागेपछि नयाँ बहुमत निर्माण भएको हो ।

शनिबार राति बसेको बैठकपछि सरकार गठनमा सहभागी दलहरूले मन्त्रालय बाँडफाँडमा मोटामोटी सहमति गरेका छन् । सहमति अनुसार जसपा नेपालले सभामुखसहित तीन मन्त्रालय पाउनेछ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई पनि तीन मन्त्रालय दिने सहमति भएको छ ।

मुख्यमन्त्रीसहित नेपाली कांग्रेसले दुई मन्त्रालय व्यवस्थापन गर्नेछ भने जनमत पार्टीले पनि दुई मन्त्रालय पाउनेछ । विश्वासको मत नपाए पनि सरकार विस्तारमा सहभागी हुन लागेको लोसपा नेपालले पनि दुई मन्त्रालय प्राप्त गर्ने सहमति बनेको छ ।

गत कार्तिक २३ गते एमालेका सरोज कुमार यादव १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त हुँदा सातदलीय गठबन्धनले सर्वोच्चमा रिट दायर गर्दै प्रक्रिया गलत भएको दाबी गरेको थियो । त्यसपछि अदालतको निर्देशनअनुसार विश्वासको मत पुष्टि गर्नुपर्ने अवस्था उत्पन्न भयो, तर मत सुनिश्चित नभएपछि एमाले नेतृत्वको सरकार ढलेको हो ।

यही परिस्थितिमा कांग्रेस नेता यादवले कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादीसँगै अन्य मिलेर ७७ सदस्यको बहुमत देखाउँदै दाबी पेस गरेका थिए । आज शपथसँगै मधेशमा नयाँ सरकार आधिकारिक रूपमा स्थापना हुँदैछ ।

क्यानडामा शक्तिशाली भूकम्प

काठमाडौं । उत्तरपश्चिम क्यानडाको युकोन टेरिटोरीमा शनिबार दिउँसो शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार १ः४१ बजे गएको भूकम्पको तीव्रता ७ म्याग्निच्युड मापन गरिएको छ, जसलाई पछिल्ला सात दशकभन्दा बढी अवधिमा क्यानडाको भूमिमा महसुस भएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक मानिएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार कम्पनको केन्द्रबिन्दु ह्वाइटहर्स शहरबाट करिब २५० किलोमिटर पश्चिमतिर रहेको थियो । भूकम्प करिब १० किलोमिटर गहिराइमा उत्पन्न भएको बताइएको छ । भूकम्पपछि तीन घण्टाभित्र कम्तीमा ३३ वटा पराकम्पनहरु महसुस गरिएका छन्, जसमा सबैभन्दा ठूलो ५.१ म्याग्निच्युडको थियो ।

हालसम्म कुनै जनधनको क्षतिको आधिकारिक रिपोर्ट प्राप्त नभए पनि ह्वाइटहर्सका धेरै स्थानीयले सामाजिक सञ्जालमार्फत घर–भित्तासमेत हल्लिने गरी कम्पन आएको अनुभूति साझा गरेका छन् ।

यो भूकम्प सन् १९४६ मा भ्यान्कुभर आइल्याण्डमा आएको ७ म्याग्निच्युडभन्दा ठूलो कम्पनपछि क्यानडामा भूमि सतहमा मापन भएको सबैभन्दा ठूलो भूकम्पका रूपमा दर्ता भएको छ । क्यानडाको इतिहासमा भने सबैभन्दा शक्तिशाली भूकम्प सन् १७०० को जनवरीमा ९ म्याग्निच्युडसहित ब्रिटिस कोलम्बियाको समुद्रतट क्षेत्र बाहिर गएको थियो ।

विशेषज्ञहरूको मूल्यांकनअनुसार शनिबारको भूकम्प उच्च जोखिमयुक्त भूकम्पीय क्षेत्रमा गएको हो, जसको पूर्वानुमान २०१५ मा अर्थक्वेक्स क्यानडाले गरेको विश्लेषणले समेत उल्लेख गरेको थियो ।

भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवाद : झलनाथ खनाल

जनकपुर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले विदेशिएका युवाहरुलाई स्वदेश फर्काउन शक्तिशाली कम्युनिष्ट पार्टीको आवश्यकता रहेको बताएका छन् ।

जनकपुरधाममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले देशमा अझै पनि भ्रष्टाचार व्याप्त रहेको र शिरदेखि तीरसम्म नै भ्रष्टाचार व्याप्त रहेको जिकिर गरे । उनले भ्रष्टाचारीहरुले देशलार्य नराम्रोसँग डसिरहेको भन्दै त्यसको अन्त्य गर्ने समाजवाद नै एक मात्र विकल्प रहेको बताए । उनले देशमा रोजगारी सिर्जना नहुँदा ठूलो संख्यामा युवाहरु विदेश पलायन भइरहेको बताए ।

‘आज देशमा जुन प्रकारको भ्रष्टाचार भइरहेको छ । देशभर नै भ्रष्टाचार छ, शिरदेखि तीरसम्म भ्रष्टाचार छ । भ्रष्टाचारीहरुले देशलाई नराम्रो ढंगले डसिरहेको छ । त्यसलाई अन्त्य गर्ने व्यवस्था भनेको समाजवाद हो । त्यसकारण हामीलाई समाजवाद चाहियो । देशभर नै बेरोजगार नै बेरोजगार छ । १८ देखि ४० वर्ष समूहका युवाहरुको ठूलो संख्या खाडीमा छ । श्रमजीवि जनता बाहिर गइरहेका छन्, पेशा व्यवसाय सिर्जना नहुँदा उनीहरु बाहिर पुगेका छन् । उनीहरुलाई देश फर्काउन एउटा ठूलो शक्तिशाली कम्युनिष्ट पार्टीको आवश्यक छ,’ उनले भने । उनले देशमा रोजगारी सिर्जना गर्नु जरुरी रहेको बताएका छन् । –न्युज एजेन्सी नेपाल

चितवन राइनोजले पोखरा एभेन्जर्सलाई दियो एनपीएल प्रतियोगिताकै कम लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई प्रतियोगिताकै कम १२१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनायो ।

चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए । अल्पेश रामजानी ३३, डेविड मलान ५, अर्जुन साउद १, रवि बोपारा १, सैफ जैइव १७, कप्तान कुशल मल्ल २३ रनमा आउट भए । कमलसिंह ऐरी २ रनमा अविजित रहे । बलिङमा पोखराका धनन्जय लक्षनले सर्वाधिक ३ विकेट लिए । विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एकएक विकेट लिए ।

रौतहटमा बसको ठक्करबाट एकको मृत्यु, आफन्तले गरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि मृतकका आफन्तले शनिबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

शुक्रबार साँझ बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएपछि पीडित परिवारले उचित क्षतिपूर्तिको माग गर्दै सडक बन्द गरेका हुन् । दुर्घटनाको बेला मोटरसाइकलमा मृतकसँगै उनका तीन सन्तान पनि सवार थिए । उनीहरूको अस्पतालमा उपचार हुँदै छ ।

चन्द्रपुर नगरपालिका– ६ मा पर्ने मोथियाही पुलनजिक गौरबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल ठोक्किँदा वृन्दावन नगरपालिका– २, विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको घटनास्थलमै मृत्यु भएको थियो ।

ओलीको आरोप : प्रधानमन्त्री र छानबिन आयोग जसरी पनि मलाई पक्रिन लागिपरेका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की र जनेजी आन्दोलनसम्बन्धी छानबिन आयोग दुवै संवैधानिक सीमाभन्दा बाहिर गएर काम गरेको गम्भीर आरोप लगाएका छन् । नवयुग ई–बुलेटिनको शुभारम्भ समारोहमा बोल्दै उनले आफू र आफ्ना सहकर्मीविरुद्ध राज्य संयन्त्रलाई प्रयोग गर्न खोजिएको दाबी गरे ।

ओलीका अनुसार प्रधानमन्त्रीले सम्पत्ति शुद्धीकरण निवारण विभागका शीर्ष अधिकारीलाई आफूलाई पक्राउ गर्ने उद्देश्यसहित मुद्दा दायर गर्न दबाब दिएका थिए । ‘विभागका प्रमुखलाई बोलाएर मुद्दा बनाऊ, प्रमाण निकाल, समात्नै पर्छ भनेर निर्देशन दिइयो,’ ओलीले आरोप लगाए, ‘तर उनले यस्तो आधारहीन काम गर्न सक्दिनँ भनेपछि तुरुन्तै हटाइयो र अर्को व्यक्तिलाई ल्याइयो ।’ सरकारले हालै गरेका राजदूत फिर्ता र अध्यादेश जारी गर्ने निर्णयहरू पनि प्रधानमन्त्रीको भूमिका सीमाभन्दा बाहिर गएको प्रमाण भएको ओलीको टिप्पणी थियो । उनले सरकारले पाएको काममा मात्र केन्द्रित हुनुपर्ने बताए ।

उता, जनेजी आन्दोलनसम्बन्धी छानबिन आयोगलाई ओलीले अझ कडा भाषामा आलोचना गरे । उनका अनुसार आयोग तथ्य संकलनभन्दा बयान ‘मिलाउने’ काममा लागेको छ । च्यासलमा आयोजित कार्यक्रममा उनले आयोगका पदाधिकारी ४ दिनअघि ‘सहिद तथा घाइते परिवार’ को नाममा खोलिएको कार्यालयमै पुगेको र त्यहाँ २७ बुँदे प्रश्नावलीसहित ‘कोचिङ’ गरेको दाबी गरे ।

‘आयोगका पदाधिकारीहरू त्यहाँ गएर यसरी भन्नू, यस्तो देख्यौं भन्नू, फलानालाई समाउनै पर्छ, थुन्नु पर्छ भन्नू भनेर सिकाइरहेका थिए,’ ओलीले आरोप लगाए, ‘यस्तो राजनीतिकृत बयान तयार पारेर आयोगले निष्पक्षता गुमाएको छ ।’ ओलीले सहिद परिवारको नाममा विभिन्न समूहले राजनीति गर्ने गरेको उल्लेख गर्दै आयोग स्वयम् त्यस्ता समूहको प्रभावमा पुगेको गुनासो गरे । उनका अनुसार आयोगले अगाडि सारेको कार्यशैलीले निष्पक्ष छानबिनभन्दा आरोप लगाउने वातावरण बनाउँदै लगेको छ ।

जेनजीका जायज माग हामी अघि बढाउँछौं : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपालले पार्टीप्रति युवाको भरोसा बढ्दै गएको बताउँदै हालसम्म हजारौं युवा संगठनमा प्रवेश गरिसकेको दावी गरेका छन् ।

मधेश प्रदेशस्तरीय एकता सन्देश सभामा बोल्दै उनले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापना गर्न नेकपा अग्रसर रहेको उल्लेख गरे । उनले नयाँ पुस्ताले उठाएका मागहरू, विशेष गरी जेनजी आन्दोलनले अघि सारेका मुद्दा, न्यायोचित भएको र पार्टीले त्यसलाई अग्रस्थानमा राखेर अघि बढाउने प्रतिबद्धता जाहेर गरे । सभामा अन्य नेकपा नेताहरूले समेत पार्टीलाई सबल र विश्वासिलो विकल्पका रूपमा उभ्याउन एकताबद्ध प्रयास जारी रहेको बताए ।

मुलुकमा देखिएका विभिन्न बेथिति, दुरुपयोग र कमजोर शासन व्यवस्थाले जनतामा निराशा बढाएको उल्लेख गर्दै नेताहरूले नेकपा त्यसको विकल्पका रूपमा अघि बढिरहेको धारणा राखे । पार्टी एकताको सन्देश व्यापक रूपमा प्रसारण गर्ने उद्देश्यले नेकपाले विभिन्न प्रदेशमा सन्देश सभा सञ्चालन गरिरहेको छ । यसै क्रममा अब कर्णाली र काठमाडौंमा पनि विशाल एकता सन्देश सभाको तयारी भइरहेको पार्टीले जनाएको छ ।

प्रचण्डको दावी : मधेश जस्तै अन्य प्रदेशमा पनि एमाले बाहेकको सत्ता समीकरण बन्छ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेश प्रदेशमा बनेको नयाँ सत्ता संरचनाले अब अन्य प्रदेशहरूमा पनि प्रभाव पार्ने दाबी गरेका छन् । मधेश प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले पुरानो राजनीतिक समीकरण भत्किेर नयाँ समीकरण उदाएको उल्लेख गरे ।

उनका अनुसार देशमा गणतन्त्र आएपछि पनि जनताको जीवनस्तरमा अपेक्षित सुधार नआएको कारण जेनजी आन्दोलन उत्पन्न भयो, जसले सबै राजनीतिक शक्तिलाई आत्मसमीक्षाका लागि बाध्य बनाएको बताउँदै उनले त्यसलाई सुधारका अवसरका रूपमा व्याख्या गरे। जेनजी आन्दोलनपछि एकता र रूपान्तरणको नयाँ दृष्टिकोणसहित विकासतर्फ अघि बढ्न नेकपासहित वाम शक्तिहरू जुटेका उनले बताए ।

प्रचण्डले एमालेभित्रका वामपन्थी, क्रान्तिकारी तथा अन्य कम्युनिस्ट शक्ति–समूहलाई समेत एउटै संगठनमा एकताबद्ध गर्ने लक्ष्य राखेको स्पष्ट पारे । देशलाई प्रतिगमन र प्रतिक्रियावादबाट जोगाउन सबै जनतामाथि आधारित वाम एकता अनिवार्य भएको उनको भनाइ थियो । मधेश प्रदेशका प्रमुख विकास आयोजनाहरू कम्युनिष्ट नेतृत्वका सरकारले नै सुरू गरेको उल्लेख गर्दै उनले ती योजनालाई निष्कर्षमा पुर्‍याउने जिम्मेवारी पनि कम्युनिष्ट सरकारकै रहने दाबी गरे ।

‘हाहुको सरकार सकिन्छ, अब बाढी जस्तै एमालेलाई रोक्न कसैको शक्ति पुग्दैन : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार फेर्ने वा समीकरण बनाउने राजनीतिक खेलमा एमाले नलाग्ने स्पष्ट गर्दै अब आउने निर्वाचनबाट पार्टी ‘बाढी जस्तै शक्तिशाली रूपमा’ सत्तामा फर्किने दाबी गरेका छन् ।

पार्टी मुखपत्र नवयुग को ई–बुलेटिन विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले फागुन २१ गते निर्वाचन नहुने परिस्थितिलाई आफूहरूले बुझिसकेको बताए । तर, निर्वाचन जहिले भए पनि त्यसबाट एमाले नै बहुमतसहित सरकारमा आउने उनको जिकिर थियो । उनले पुराना पार्टीहरूलाई रोक्ने प्रयास भइरहे पनि जनमतले अहिले पनि एमालेलाई विजयी बनाउने दाबी गरे ।

ओलीले विगतमा २०७३ र २०७८ सालमा एमालेमाथि ‘घेरा हालेको’ जस्तै आक्रमण भए पनि पार्टी जनमतको बलमा सत्तामा फर्किएको स्मरण गर्दै अहिले पनि त्यही दोहोरिने जनाए । उनका अनुसार एमालेलाई अभिमन्यूलाईझैं एक्ल्याएर राजनीतिक शक्तिहरूले घेर्न खोजे पनि एमालेले ती शक्तिलाई ‘धोबीपाट’ पार्नेछ ।

वर्तमान सरकारप्रति आक्रोश पोख्दै ओलीले यसलाई ‘हाहुको भरमा बनेको, असंवैधानिक र दायित्वबाहिर गएको’ सरकारको संज्ञा दिए । उनले जेनजी सरकारको प्रधानमन्त्री आफूभन्दा केवल झण्डै साढे तीन महिना कान्छो भएको भन्दै व्यंग्य गर्दै प्रश्न उठाए, ‘हामी मात्र बुढा हुने ? केही नबुझेका पुरानालाई चाहिँ किन ल्याइयो ?’ ओलीले प्रतिनिधि सभा विघटन र सरकार गठन दुवै असंवैधानिक भएकाले अदालतबाट पुनस्र्थापना हुने विश्वास पनि व्यक्त गरेका छन् ।

पार्टी अध्यक्षले राजनीतिक दलकै सरकार बन्ने परम्परा अब फेरि पनि दोहोरिने भन्दै ‘हाहुको भरमा चल्ने सरकार अब टिक्दैन’ भने । उनले निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण हुनुपर्नेमा जोड दिँदै एमाले फेरि सत्तामा फर्किन तयार रहेको उल्लेख गरे । ‘अरू दल आउँछन् कि आउँदैनन् थाहा छैन, तर एमाले चाहिँ आयो–आयो’, ओलीले ठोकुवा गर्दै भने, ‘एमाले विशाला नदीको बाढी जस्तो हो, रोक्न खोज्नेहरू नै बग्छन्, एमाले होइन ।’

भ्रष्टाचार र अराजकतालाई नेकपामा ठाउँ छैन : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले पार्टीमा भ्रष्टाचार गर्ने र अराजकता मच्याउनेलाई ठाउँ नभएको दावी गरेका छन्। मधेश प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै पार्टीलाई सुदृढ बनाएर लैजानुपर्ने बताए।

उनले भने, ‘पार्टी एकता गरेर मात्रै हुँदैन, पार्टीलाई सुदृढ बनाउनु पर्छ । हामीले विधि र पद्धतिमा पार्टी चलाउनु पर्छ, कार्यकर्ताको न्यायोचित मूल्याङ्कन हुनुपर्छ।भ्रष्टाचार गर्ने र घुस खाने नेकपामा छैनन् भन्ने बनाउनु पर्छ, कुशासन र अराजकहरू पार्टी टिक्दैनन् भन्ने बनाउनु पर्छ ।’ उनले विगतको आत्मसमीक्षासहित जनतामा जानुपर्ने बताएका छन्।

पार्टीमा एकताको खाँचो छ, ओलीकै नेतृत्व स्वीकारौं : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र प्रतिष्पर्धाभन्दा एकता जरुरी रहेको बताएका छन् । उनले ११औं महाधिवेशनपछि एमाले अझ सुदृढ र एकताबद्ध भएर अघि बढ्ने दाबी गरे ।

पार्टीको ‘नवयुग ई–बुलेटिन’ सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै पोखरेलले मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने उद्घाटन समारोहलाई महाधिवेशनको उत्सव मात्र नभई प्रतिगमनविरुद्धको जनपरिचालनको रूपमा प्रस्तुत गर्ने तयारी गरिएको बताए । उनले सो कार्यक्रममा सहभागी हुन सम्पूर्ण कार्यकर्तालाई अपिल पनि गरे।

उनका अनुसार एमाले मात्रै देशको विकासका लागि आवश्यक योजना बनाउन सक्षम शक्ति हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेको चौतर्फी प्रहार कुनै व्यक्तिगत विषय नभई एमालेको नीति, विचारधारा र नेपालको राष्ट्रिय हितविरुद्धको आक्रमण भएको उनको तर्क थियो ।

महासचिव पोखरेलले राष्ट्रिय राजनीति आज पनि एमाले र अध्यक्ष ओलीकै वरिपरि केन्द्रित रहेको उल्लेख गर्दै आउँदो महाधिवेशनले ओलीलाई पुनः अध्यक्ष चयन गर्ने विश्वास व्यक्त गरे । अध्यक्षमा प्रतिष्पर्धाको तयारी गरिरहेको भनिएको समूहलाई उदगृत गर्दै उनले अहिलेको आवश्यकता प्रतिष्पर्धा नभई एकता भएको स्पष्ट पारे । पोखरेलले पार्टीभित्र सबैलाई ओलीको नेतृत्वमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।

चितवनले टस जित्यो, पोखराले पहिला बलिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको २७ औं खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ त्रिवि क्रिकेट मैदानमा कुशल मल्लले टस जितेर पोखरालाई बलिङको निम्तो दिएको हो । यी दुई टिमले पाँचौं र छैटौं स्थानका लागि खेल्ने छन् ।

दुवै टिमले यो सान्त्वना जितको लागि खेल्ने छन् । प्लेअफ दौडबाट बाहिरिसकेका चितवन र पोखराबीच प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ । दुवै टोलीको छ खेलबाट चार–चार अङ्क मात्रै रहेको छ ।

दाङ लमहीमा चल्यो गोली

दाङ । दाङको लमही बजारमा दिउँसै गोली चलेको छ । लमही बजारस्थित जुन तारा सुनचाँदी पसलमा अज्ञात व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।गोली लागेर पसल सञ्चालक सामान्य घाइते छन् । गोली लागेर उक्त पसलमा काम गर्ने कालिगढ अन्दाजी १८ वर्षीय दीपक सुनार घाइते रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक रोषणराज पाण्डेले जानकारी दिए ।

गोली प्रहार गर्ने ब्यक्ति फरार रहेको र उनको खोजी भइरहेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए । घटनापछि जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठ पनि लमही पुगेका छन् । एसपी श्रेष्ठले घाइते सुनार सुन पसल संचालकको सालो रहेको बताए । सुन पसल लुटपाट गर्ने उद्देश्यले गोली प्रहार गरिएको हुनसक्ने प्रहरीले जनाएको छ । सुन पसल गोली प्रहार गर्ने व्यक्ति फरार रहेका प्रहरीले जनाएको छ । अहिले प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएको छ ।

निर्वाचन लक्षित वाचापत्र तयार गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी केन्द्रीय वाचापत्र निर्माणका लागि सुझाव संकलन गर्दैछ ।

रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित केन्द्रीय वाचापत्र कार्यदलले पार्टीका सबै संयन्त्रबाट आज सुझाव संकलन गर्ने प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार सुझावका लागि आज साँझ भर्चुअल माध्यम (जुम)मा बैठक आह्वान गरिएको छ । उक्त कार्यदलमा डा. वाग्लेसँगै केन्द्रीय सदस्यहरू डा. अरनिको पाँडे, डा. नन्दन यादव र क्रान्तिशिखा धिताल छन् ।

योसँगै रास्वपाले निर्वाचनलक्षित गतिविधि पनि तीव्र बनाएको छ । रास्वपाले निर्वाचनलाई लक्षित गर्दै आफ्नो राजनीतिक गतिविधिसँगै प्रचारप्रसारलाई थप सक्रिय बनाएको हो । पार्टीले हाल अधिवेशन, संगठन विस्तार र समानुपातिक प्रणालीमार्फत उम्मेदवारी दिन आह्वान गरिरहेको छ । सोही क्रममा प्रारम्भिक निर्वाचनका गतिविधि व्यवस्थापनका लागि अडिट समितिले काम सुरु गरेको रास्वपाले जनाएको छ । समितिले उम्मेदवार छनोटसम्बन्धी सम्पूर्ण पक्षलाई तथ्यपरक रूपमा मूल्याङ्कन गर्ने जनाएको छ ।

आगामी निर्वाचन केन्द्रित प्रशिक्षणका लागि केन्द्रीय प्रशिक्षण विभागले अनलाइन तालिमका माध्यमबाट कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला भेला, पूर्व उम्मेदवारहरूसँग छलफल र संगठन सुदृढीकरणका कार्यक्रम पनि अघि बढाइएको प्रवक्ता झाले जानकारी दिए । निर्वाचन तयारीलाई व्यवस्थित बनाउन रास्वपाले राजनीतिक अध्ययन कार्यदल, निर्वाचन रणनीति कार्यदल र सञ्चारमाध्यम अध्ययन कार्यदल गठन गरेको छ । यी कार्यदलले नीति विश्लेषणदेखि रणनीति निर्माणसम्मको कार्य गर्ने जनाइएको छ ।

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

काठमाडौं । काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वागमतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाधीन छ ।

काठमाडौँको त्रिपुरेश्वर र ललितपुरको कुपण्डोल दोभानमा २.५३ हेक्टरमा प्रशोधन केन्द्र निर्माण भइरहेको हो । एशियाली विकास बैंक (एडिबी) को वागमती नदी बेसिन सुदृढीकरण परियोजनामार्फत प्राप्त सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको प्रशोधन केन्द्रको लागत तीन अर्ब १८ करोड छ । केन्द्रको निर्माण आगामी मंसिरमा पूरा गर्ने लक्ष्य छ ।

टुकुचाको प्रवाहलाई उक्त केन्द्रमा पथान्तरण गरी पानी प्रशोधन भएपछि वाग्मतीमा प्रवाहित गरिने छ । प्रशोधन केन्द्रका सहउत्पादनको रुपमा ८०० किलोवाट विद्युत् पनि त उत्पादन हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङको निजी सचिवालयले जनाएको छ।

हाल त्रिपुरेश्वरतर्फ ढल प्रशोधन केन्द्रका भौतिक संरचना निर्माण भइरहेका छन्भने स्थानीयको अवरोधका कारण ललितपुरतर्फका संरचनाको निर्माण हुन सकेको छैन । ललितपुरमा विद्युत् उत्पादन हुने संरचना मात्र रहने छन् । मुख्य ढल प्रशोधन गर्ने संरचना भने त्रिपुरेश्वरमा निर्माणधीन छन् ।

मन्त्री घिसिङले आज निर्माणधीन प्रशोधन केन्द्रको निरीक्षण गरी निर्माण प्रगतिबारे जानकारी लिए । त्यस क्रममा उनले निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परार्शदाता र निर्माण व्यवसायीसँग निर्माण सम्पन्न हुने तालिका, बेहोरिरहेका समस्या, समाधानका लागि गर्नुपर्ने नीतिगत निर्णयलगायतका विषयमा छलफल गरेका थिए । उनले सरकारले बागमती नदीलाई सफा बनाउन यसका सहायक खोला तथा नदी किनार व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको उल्लेख गरे । निर्माण व्यवसायीले त्रिपुरेश्वरतर्फका संरचना तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।

एनपीएल : अर्धशतककोे संख्या ३३ पुग्यो

काठमाडौं । राजधानीमा जारी एनपीएलमा अर्धशतकको संख्या ३३ पुगेको छ । विराटनगर किंग्सका साम हिजलेटले आज सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक पूरा गरेसँगै अर्धशतकको संख्या ३३ पुगेको हो । जसमा २९ खेलाडी सामेल छन् ।

यसअघि जारी ‘सिजन’ मा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई-दुई अर्धशतक हिर्काएका छन् ।

यस्तै सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, क्रिश लिन ईशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम, फाफ डू प्लेसिस, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित बर्मा, जिमी निशम, एडम रोसिङटन, रिसि धवन, चितवनका डेविड मलान र अर्जुन साँउद, काठमाडौँ गोर्खाजका भीम सार्की, जोन सिम्प्सन, बेन चाल्र्सवर्थ, कर्णालीका मार्क वाट, लुम्बिनीका डार्सी सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकत, अनिल शाह र आशिफ शेखले एक÷एक अर्धशतक हिर्काएका छन् । कर्णालीका मार्क वाट र पोखराका एडम रोसिङटनले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन् ।

सुदूरपश्चिमको अपराजित यात्रा ‘ब्रेक’ गर्दै विराटनगर क्वालिफायरमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको छ । शनिबारको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्समाथि ६ विकेटको सनसनीपूर्ण जित निकाल्दै पहिलो क्वालिफायरमा स्थान बनाएको हो।

१४८ रनको लक्ष्य १४ ओभरभित्र पूरा गर्नु पर्ने अवस्थामा ११.५ ओभरमै लक्ष्य पूरा गर्दै विराटनगरले सनसनीपूर्ण जित निकालेको हो । आजको जितसँगै विराटनगर अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । काठमान्डु गोर्खाजसँग समान १० अंक भए पनि विराटनगर रनरेट अघि रहेको हो । यसअघि सुदुरपश्चिमले शीर्ष स्थान बनाइसकेको थियो । आज पराजित भएसँगै उसको ६ खेलको जितको यात्रामा भने पूर्णविराम लागेको छ ।

यससँगै अंक तालिकामा सुदूरपश्चिम १२ अंकसहित दोस्रो, विराटनगर १० अंकसहित दोस्रो, काठमान्डु १० अंकसहित तेस्रो र लुम्बिनी लायन्स ८ अंकसहित चौथो भए। अब पहिलो सुदूरपश्चिम र विराटनगरबीच मंगलबार पहिलो क्वालिफायर हुनेछ । जित हात पार्ने टोली शनिबार हुने फाइनलमा पुग्नेछ । हार्ने टोली बिहीबार हुने दोस्रो क्वालिफायनरमा पुग्नेछ ।

बुधबार इलिमिनेटरको खेलमा काठमान्डु र लुम्बिनी भिड्ने छन् । जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ। दोस्रो क्वालिफायर जित्ने टोली फाइनलमा पुग्नेछ । विराटनगर सुदूरपश्चिमले दिएको १४८ रन लक्ष्य ११.५ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्‍यो । आक्रामक सुरूवात गरेको विराटनगरका लागि फाप डु प्लेसिसले १९ बलमै अर्धशतक पूरा गरेका थिए । उनले २० बल खेलेर ५ चौका र ४ छक्का प्रहार गरे ।

उनले पहिलो विकेटका लागि साम हिजलेटसँग ७.१ ओभरमा ९७ रनको साझेदारी गरे । फापलाई सुदूरपश्चिमका अभिनास बोहराले बोल्ड गरेका थिए । ओपनर हिजलेटले २७ बलमा ५१ रन बनाए । उनलाई हर्मित सिंहले नवौं ओभरको दोस्रो बलमा विकेट पछाडि विनोद भण्डारीबाट क्याच गराए । हिजलेटले ३ चौका र ४ छक्का प्रहार गरे ।

विराटनगरका लागि मार्टिन गप्टिल भने ११औं ओभरको दोस्रो बलमा रनआउट हुन पुगे । उनले ९ बलमा २२ रन जोडे । विराटनगरले १० ओभरमै २ विकेटको क्षतिमा १२७ रन बनाएको थियो । १२औं ओभरमा बसिर अहमद ८ रनमा आउट भए । उनलाई पनि अभिनासले क्याच गराए । १२औं ओभरको चौथो र पाँचौ बलमा अभिनासलाई नै प्रतिश जिसीले लगातार दुई छक्का प्रहार गरेर विराटनगरको सनसनीपूर्ण जितको हिस्सा बने ।

त्यसअघि टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमलले ६ विकेटको क्षतिमा १४७ रन बनायो । सुदूरपश्चिमका लागि आरिफ शेखले नटआउट ४५ रन बनाए। उनले ३२ बलमा १ चौका र ३ छक्का प्रहार गरे । सुदुरपश्चिमका ओपनरद्वय विनोद भण्डारी १५ रन र जोश ब्राउन २४ रन जोडेर आउट भए ।

चौथो ओभरमा विराटनगरका बसिर अहमदबाट बोल्ड भएका भण्डारीले १३ बलमा ३ चौका प्रहार गरे । आठौं ओभरको अन्तिम बलमा ब्राउनलाई विराटनगरका सन्दीप लामिछानेले हिजलेटबाट क्याच गराएका थिए । त्यसपछि इशान पाण्डे र आरिफ शेखबीच तेस्रो विकेटका लागि ७२ रनको साझेदारी भयो । सन्दीपबाट नै १७औं ओभरको दोस्रो बलमा डि लाङबाट क्याच हुनुअघि पाण्डेले ३८ रन बनाए ।

उनले ३५ बलमा २ चौका र २ छक्का प्रहार गरे । लगत्तैको बलमा सन्दीपले हर्मित सिंहलाई डु प्लेसिसबाट क्याच गराउँदै डकआउट गराए। कप्तान दीपेन्द्रसिंह ऐरीले अन्तिम ओभरको पहिलो बलमा आउट हुनुअघि ११ बलमा २ छक्काको मद्दतमा १९ रन जोडे। ऐरी प्रतिश जिसीको बलमा हिजलेटबाट क्याच भए ।

महेश बस्नेतको दाबी : ओलीलाई हराउन खोज्नु मनको लड्डु घिउसँग खानु जस्तै हो

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले झापामा कसैले पनि अध्यक्ष केपी शर्मा ओलीलाई हराउन नसक्ने दाबी गरेका छन् । आज (शनिबार) फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै नेता बस्नेतले यस्तो दाबी गरेका हुन् ।

‘अहिले केपी ओली ज्यूलाई आउँदो चुनावमा हराउने भनेर केही तत्व लागिपरेका देखिन्छन्,’ बस्नेतले लेखेका छन्, ‘तर उनीहरूको प्रयास माखो मार्नेवाला छैन् । यो सबै मनको लड्डु घिउसँग खानु जस्तै कुरा हो !’ २०७९ को प्रतिनिधिसभा निर्वाचनमा झापा–५को अन्तिम मत परिणाम उल्लेख गर्दै उनले ओलीले उक्त निर्वाचनमा ऐतिहासिक मतान्तरसहित विजयी भएको तथ्य नै पर्याप्त रहेको दाबी गरे ।

‘उहाँले ५२ हजार ३१९ मत प्राप्त गर्दै नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई हराउनु भएको थियो । अधिकारीले २३ हजार ७४३ मत मात्र पाएका थिए,’ उनले अगाडि लेखेका छन् । यो परिणाम कुनै संयोग मात्रै नभएको बस्नेत ठहर छ । उनले अगाडि भनेका छन्, ‘यो झापाका जनताले विकास, स्थिरता र राष्ट्र निर्माणप्रतिको ओलीप्रतिको गहिरो विश्वासको प्रष्ट प्रमाण हो ।’

 

फाप डु पेल्सिसको आक्रामक अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सका ओपनर फाफ डु पेल्सिसले सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक प्रहार गरेका छन्। उनले १९ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । योभन्दा अगाडि भीम सार्कीले पोखरा एभेन्जर्सविरुद्ध १९ बलमा अर्धशतकीय पारी खेलेका थिए ।

पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

काठमाडौं । पहिचान पुरस्कार कोषले यस पहिचान सम्मानबाट साहित्यकार, मुन्धुमविद् एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला पुरस्कृत गर्ने भएको छ । काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद रु पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्मान गर्ने निर्णय गरिएको कोषका संस्थापक नरेश काङमाङ राईले जानकारी दिए ।

यसैगरी, पहिचानको आन्दोलन र लेखनमा दिइरहेको योगदानको कदर गर्दै यस वर्ष पहिलो पहिचान युवा सम्मान गणेशकुमार राई ‘गीलु रातोस’ लाई प्रदान गरिने भएको छ । नगद रु ५० हजार २०२ र ताम्रपत्रसहित उनलाई युवा सम्मान दिने कोषले जनाएको छ । पुरस्कार दिने मिति पछि तय गरिने कोषले जनाएको छ ।

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा जारी एनपीएल सिजन–२ को आज (शनिबार) को पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंसलाई जितका लागि १४८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनायो ।

सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४५ रन बनाए । यस्तै इशान पाण्डेले ३८ जोश ब्राउनले २४ दिपेन्द्रसिंह ऐरीले १९ र विनोद भण्डारीले १५ रन बनाए । विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । प्रतिश जीसीले २ र बसिर अहमतले १ विकेट लिए ।

नागरिकको मुहारमा खुशी ल्याउन सक्ने विकास आजको आवश्यकता : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउन सक्ने विकास आजको आवश्यकता भएको बताएका छन् । ललितपुर महानगरपालिकाको नव निर्मित प्रशासकीय भवनको शुभारम्भ गर्दै उनले नागरिकको मुहारमा खुशी ल्याउन सेवा प्रवाहमा चुस्तता र सुशासन महत्वपूर्ण पक्ष रहेको जिकिर गरे । नयाँ पुस्ताको चाहना बुझेर राजनीतिक नेतृत्वले आफूलाई सोहीअनुसार रूपान्तरण गर्दै लैजान जरूरी रहेको बताए ।

‘पूर्वाधार निर्माण मात्रै होइन नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउन सक्ने विकास आजको आवश्यकता हो। यसका लागि सेवा प्रवाहमा चुस्तता र सुशासन महत्वपूर्ण पक्ष हो भन्ने म ठान्दछु । नयाँ पुस्ताको यो चाहना बुझेर राजनीतिक नेतृत्वले त्यसैअनुसार आफूलाई रूपान्तण गर्दै लैजानु आजको हाम्रो साझा दायित्व हो भन्ने म ठान्दछु ।’

उनले संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान उल्लेख गरे । राष्ट्रपति पौडेलले स्थानीय तह नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहले दिने सेवा र प्रदान गर्ने सुशासनले नै व्यवस्थाप्रति नागरिकको भरोसा अभिवृद्धि गर्ने बताए ।

‘संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको छ । नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहले दिने सेवा र प्रदान गर्ने सुशासनले नै व्यवस्थाप्रति नागरिकको भरोसा अभिवृद्धि गर्दछ, त्यसैले नागरिकका चाहना पूरा गर्न विशेषतः स्थानीय सरकारले ध्यान दिनुपर्दछ,’ उनले भने ।

नागरिकका चाहना पूरा गर्न विशेषतः स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए । लोकतन्त्र केवल शासन व्यवस्था मात्र होइन यो लोकको आवाज सुन्ने र उनीहरूको चाहनाअनुरूप काम गर्ने संस्कार र शैली भएको पनि बताए ।

‘लोकतन्त्र केवल शासन व्यवस्था मात्र होइन यो लोकको आवाज सुन्ने र उनीहरूको चाहनाअनुरुप काम गर्ने संस्कार र शैली हो र यो लोकहितमा समर्पित हुने असल आचरण र चरित्र पनि हो, यो मर्म र भावना बुझेर अघि बढ्ने नेतृत्व र जनप्रतिनिधिको दृढ इच्छाले मात्र भौतिक विकाससँगै नागरिकको मुहारमा खुसी ल्याउन र व्यवस्थाप्रति भरोसा जागृत गराउन सक्छ,’ उनले भने ।

राष्ट्रपति पौडेलले जनताका गुनासा, असन्तुष्टि, माग सुन्ने र तीनलाई बुझ्न घरदैलोमा पुग्ने लोकतान्त्रिक आचरण र शैली पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै विकासको युगिन अभिभारा पूरा गर्ने युवा पुस्ताको चाहनालाई पूरा गर्न तथा देशको वर्तमान परिस्थितिलाई निकास दिन आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन पनि आह्वान गरे ।

चुनाव हुनेमा संशय कायमै छ : गगन थापा

सर्लाही । नेपाली कांग्रेस महामन्त्री गगन थापाले तोकिएको मितिमा निर्वाचन हुन केही कठिनाइ भए पनि सरकार पक्षले वातावरण तयार गर्न नसकेको बताएका छन्।

नेपाल प्रेस युनियन सर्लाहीले आज (शनिबार) बिहान सदरमुकाम मलंगवामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले निर्वाचनको वातावरणका लागि सरकार पक्ष चुकेको बताए । नेपाली कांग्रेस फागुन २१ को प्रतिनिधिसभा निर्वाचनप्रति प्रतिबद्ध रहेको जनाउँदै महामन्त्ती थापाले दलहरु निर्वाचनका लागि तयार रहे पनि सरकार संशय हटाएर निर्वाचन गराउन प्रतिबद्ध नदेखिएको आरोप लगाए ।

जेन–जी आन्दोलनपछि फरार रहेका कैदीबन्दी र लुटिएका हतियार निर्वाचनका लागि चुनौती बन्न सक्ने थापाले तर्क गरे । उनले तोकिएको मितिमा मधेशमा होलीको वातावरण तथा पहाड र हिमालमा मौसम प्रतिकूल पनि समस्या बन्न सक्ने बताए । यसबारेमा प्रधानमन्त्री सुशीला कार्कीलाई सर्वदलीय बैठकमा जानकारी गराएको बताउँदै उनले भने, ’ ‘तोकिएको मितिमा निर्वाचन गराउन केही कठिनाइ छ । भागेका कैदीबन्दी र हतियार सरकारले नियन्त्रणमा ल्याउनुपर्छ, नभए चुनावमा संशय कायम नै रहन्छ ।’

महामन्त्री थापाले पार्टीको आसन्न १५ औं महाधिवेशनमा सभापति पदको उम्मेदवारी समेत दिने घोषणा गरेका छन् । उनले यस पटकको पार्टीको निर्वाचनमा नयाँ नेतृत्व छान्न कांग्रेसी कार्यकर्ता आतुर रहेको समेत बताएका छन् ।

फिफा विश्वकपको ड्र सार्वजनिक, कुन टिम कुन समूहमा ? (सूचीसहित)

काठमाडौं । अमेरिकाको वासिङ्टन डीसीमा संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने २०२६ को फिफा विश्वकप समूह चरणको ड्र घोषणा गरिएको छ ।

२०२६ को फिफा विश्वकपमा पहिलो पटक प्रतियोगितामा ४८ टोलीले भाग लिनेछन् । ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ । सबैभन्दा ठूलो प्रतिस्पर्धा समूह आईमा हुने अपेक्षा गरिएको छ । यसमा फ्रान्सले नर्वेसँग जोडी बनाएको छ भने यसमा सेनेगल पनि समावेश छ ।

गत वर्षको विजेता अर्जेन्टिनालाई समूह जेमा राखिएको छ भने ब्राजिलले समूह सीमा स्कटल्याण्ड र मोरक्को जस्ता टोलीसँग प्रतिस्पर्धा गर्नेछ । आयोजक संयुक्त राज्य अमेरिकालाई अष्ट्रेलिया र पाराग्वेसँगै समूह डीमा राखिएको छ ।

कुन समूहमा को ?
समूह ए – मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, प्लेअफ डीको विजेता
समूह बी – क्यानडा, प्लेअफ एको विजेता, कतार, स्विट्जरल्याण्ड
समूह सी – ब्राजिल, मोरक्को, हैटी, स्कटल्याण्ड
समूह डी – संयुक्त राज्य अमेरिका, पाराग्वे, अष्ट्रेलिया, प्लेअफ सीको विजेता
समूह ई – जर्मनी, कुराकाओ, आइभरी कोस्ट, इक्वेडर
समूह एफ – नेदरल्याण्ड्स, जापान, प्लेअफ बीको विजेता, ट्युनिसिया
समूह जी – बेल्जियम, इजिप्ट, इरान, न्युजिल्याण्ड
समूह एच – स्पेन, केप भर्डे, साउदी अरेबिया, उरुग्वे
समूह आई – फ्रान्स, सेनेगल, प्लेअफ २ को विजेता, नर्वे
समूह जे – अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया, जोर्डन
समूह के – पोर्चुगल, प्लेअफ १ को विजेता, कोलम्बिया, उज्बेकिस्तान
समूह एल – इङ्गल्याण्ड, क्रोएसिया, घाना, पानामा

नेकपाको अपानि : निर्वाचन तयारीदेखि एकता प्रक्रियासम्मको खाका

काठमाडौं । नव गठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो संगठनात्मक एकीकरण, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन र पार्टीको भावी कार्ययोजनालाई लक्षित गर्दै विस्तृत अन्तर–पार्टी निर्देशन (अपानि) जारी गरेको छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादीसँगै विभिन्न घटक दलहरूको एकतापछि बनेको नेकपाले अपानिमार्फत एकता प्रक्रियाको पृष्ठभूमि, सहमतिहरू, तत्कालीन राजनीतिक चुनौती र आगामी रणनीतिबारे स्पष्ट मार्गनिर्देशन गरेको छ । कात्तिक १९ मा एकता घोषणा भएलगत्तै पार्टीले देशभर सन्देशसभा सञ्चालन गरिरहेको छ । कात्तिक २६ मा भीम रावल नेतृत्वको ‘मातृभूमि अभियान’ नेकपामा गाभिएपछि सुदूरपश्चिमदेखि पूर्वसम्म एकीकृत संरचना विस्तारका कार्यक्रम तीव्र बनेका छन् ।

अपानिको केन्द्रमा आसन्न निर्वाचन तयारी छ । फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावलाई पार्टीले आफ्नो पहिलो परीक्षाका रूपमा व्याख्या गर्दै जेनजी पुस्ताको भावना, सोच र प्राथमिकता प्रत्यक्ष रूपमा सम्बोधन गर्न सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । अपानिमा भनिएको छ— युवा पुस्ताको अपेक्षा बुझेबिनापछाडि परिने भएकाले कार्यक्षेत्रमै उभिएर तत्काल चुनावी अभियान सुदृढ बनाउनु पर्नेछ ।

पार्टी एकताको कारण र आवश्यकता सम्बन्धी विशद् विश्लेषण पनि यस निर्देशनमा समावेश छ । जेनजी आन्दोलनपछि देखिएको राजनीतिक अनिश्चितता, विगतका कम्युनिस्ट विभाजनहरूले उपलब्धिहरूमा परेको असर, र समाजमा फैलिदै गएको निराशालाई चिर्नै पार्टी एकताको प्रमुख प्रेरणा रहेको उल्लेख गरिएको छ । अपानिमा एकता प्रक्रियामा सुरुआतमा समावेश १० दलदेखि पछ्याउँदै जोडिएका सबै घटक दलको विस्तृत विवरण राखिएको छ ।

एकता राष्ट्रिय सम्मेलनबाट तय भएका ११ बुँदा समेत अपानिमार्फत पुनः औपचारिक रूपमा कार्यकर्तासामु प्रस्तुत गरिएको छ। पार्टीको चुनाव चिन्ह ‘पाँच कुने तारा’ चयन, दीर्घकालीन एवं अल्पकालीन योजनाहरू, अपिल प्रकाशन, निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया र थप समूहहरूसँग एकता विस्तार गर्ने तयारीसम्बन्धी धारणा सबै यस निर्देशनभित्र समेटिएका छन् ।

यसैगरी, पार्टीभित्र एकता र गतिशीलता कायम राख्दै आगामी निर्वाचनलाई सफल बनाउन आवश्यक संगठनात्मक निर्णय, जिम्मेवारी बाँडफाँड र कार्यान्वयनका सूचनाहरू पनि अपानीले निर्देशित गरेको छ । अपानिले नेता–कार्यकर्तालाई राम्रो संगठित संरचना र साझा राजनीतिक दृष्टिकोणमार्फत वाम एकताको सन्देश जनतासम्म पुर्‍याउन आग्रह गरेको छ ।

हेटौडा सडक विस्तारबारे कमल थापाको टिप्पणी : कानुनी राज्यको नाङ्गो उपहास

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुरको हेटौंडामा कानुनी राज्यको नाङ्गो उपहास भएको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले सडक विस्तार रोक्न आदेश दिइसक्दा पनि सरकारले संरचना भत्काउन थालेपछि उनले सामाजिक सञ्जाल एक्समार्फत् हेटौंडामा कानुनी राज्यको नाङ्गो उपहास भएको टिप्पणी गरेका हुन् ।

‘सर्वोच्च अदालतले ‘सडक विस्तार तत्काल रोक्नू’ भन्ने आदेश दिँदादिँदै पनि पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा बनेको सरकार जनताको निजी सम्पत्तिमाथि आक्रमण गर्दैछ,’ अध्यक्ष थापाले लेखेका छन् । बाइपासको विकल्प छँदाछँदै र राजमार्ग बन्नुअगावै बसेको बस्ती र जनताको वैध स्वामित्व रहेको निजी सम्पत्तिमाथि मुआब्जा नदिई जबर्जस्ती कब्जा गर्ने कार्य जघन्य अपराध भएको उनले जिकिर गरेका छन् ।

‘शक्तिको दुरुपयोग गरी जनताको घर भत्काऊ, तर कमसेकम ‘अतिक्रमणकारी’ भन्ने गलत आरोप जनतामाथि नलगाऊ,’ अध्यक्ष थापाले भनेका छन् । यसअघि हेटौडामा भइरहेको सडक विस्तारको विरोध गर्दै नवगठित उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामाको घोषणा गरेकी थिइन् ।

 

मधेशका मुख्यमन्त्री यादवको शपथ र मन्त्रिपरिषद विस्तार आइतबार

जनकपुरधाम । मधेश प्रदेशका नव नियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार शपथ ग्रहण गर्ने भएका छन् । सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई बिहान १०ः३० बजे पद तथा गोपनीयताको शपथ गराउने भएका हुन् ।

यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । नेकपा एमालेका सरोज यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सात दलबीच भएको लामो छलफलले यादवको नाममा सहमति जुटेको थियो । सरकारमा लग्ने मन्त्रीका विषयमा छलफल भइरहेको छ । तत्काल सातै दलबाट एक–एक मन्त्री नियुक्त हुने प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

कांग्रेस प्रदेशसभा संसदीय दलका नेता यादव एमालेबाहेकका सात दलका ७७ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। उनलाई कांग्रेसका २२, जसपाका १८, जनमतका १२, माओवादीका ९, लोसपाका ८, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्तिका १ सांसदको समर्थन छ । सात दलीय गठबन्धनको तर्फबाट दाबी पेस गरेका यादवलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

 

‘कृषकलाई मौसमले पनि ठग्दोरहेछ’

काठमाडौँ । ‘पाँच वर्ष कतारमा काम गरें, त्यहाँ बस्दा सन्तुष्ट थिइन, अहिले घरमै बसेर सुन्तला खेती गरिरहेको छु’, व्यास नगरपालिका–१३ बेनीकोटका लेखबहादुर थापाले भने ‘सुन्तला खेतीबाटै घर खर्च चलाउन सहयोग पुगेको छ।’

छुट्टीमा घर आउँदा अरुले सुन्तला बेचेरै मनग्य आम्दानी गरेको देखेपछि आफू पनि सुन्तला खेतीमा लागेको उनको भनाइ छ । विदेश गए पनि दुःख गर्नुपर्ने तर त्यही दुःख स्वदेशमै गर्नसके केही होला की भनेर सुन्तला खेतीमा लागेको थापाले बताए । थापाले विदेशमा गएर परिश्रम गर्नुभन्दा स्वदेशमै पसिना बगाउन सके यहीँ आत्मसन्तुष्टि मिल्ने सुझाव दिए ।

उनले भने ‘मैले यस वर्ष रु तीन लाख ७० हजारको सुन्तला बिक्री गरेको छु । मेरो २५० बोट सुन्तला रहेको छ । यसलाई अझै विस्तार गर्नसके आम्दानी बढाउन सकिनेछ ।’ थापाले यस वर्ष बेनीकोटमा सुन्तलामा रोग लागेका कारण उत्पादन कमी भएको गुनासो गरे । उनले भने, ‘यहाँका केही ठाउँमा सुन्तलाका के रोग लाग्यो, बोट नै मर्न थाल्यो । कृषि ज्ञान केन्द्रबाट पनि आउनु भएको थियो, तर के रोग लाग्यो थाहा पाउन सकिएन ।’

कृषक गिरबहादुर आले पनि वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेती गरिरहेका छन् । उनले भने विदेश भने पनि सबैको राम्रो कमाइ हुँदैन, विदेशमा गएर उमेर कटाउनुभन्दा सुन्तलाखेतीमा लाग्नुभन्दा केही राम्रो होला भनेर यसमै लागेको छु ।’ उनले यस वर्ष साढे तीन लाख बढीको सुन्तला बिक्री गरेको जानकारी दिए।

उनले विगतका वर्षभन्दा यस वर्ष सुन्तलामा उत्पादन कमी भएको उल्लेख गरे । उनले भने ‘जरो कुहिने रोग लाग्यो, जलवायु परिवर्तनको कारण हो की के हो। कृषकलाई मौसमले पनि ठग्दोरहेछ ।’ अगुवा कृषक दलबहादुर थापाले यस वर्ष रु १६ लाखको सुन्तला बिक्री गरेको बताए । उनले अघिल्लो वर्ष रु १३ लाखको सुन्तला बिक्री गरेका थिए । उनका अनुसार यहाँका १०० भन्दा बढी कृषक सुन्तलाखेतीमा लागेका छन् । यहाँका कृषकको मुख्य आम्दानी नै सुन्तला हो ।

उनले भने ‘विगत केही वर्षदेखि यहाँका सुन्तला बोट मर्दै जान थालेको छ । कृषि प्राविधिक आएर हेरेर औषधि पनि सिफारिस गर्नुभयो, तर सुधार भएको छैन ।’ थापाका अनुसार यहाँ उत्पादित सुन्तला काठमाडौँ कालीमाटीमा बिक्री गरिन्छ । बजारीकरणको कुनै समस्या नरहेको बताउँदै उनले भने ‘प्रतिकेजी सुन्तला रु रु १०० सम्म बिक्री हुने गरेको छ । विगतका वर्षमा रु ९५ सम्म बेच्थ्यौँ, यो वर्ष मूल्य केही बढी पाएका छौँ ।’

भिरालो जग्गा रहेकाले यहाँ अन्य खेती गर्न समस्या भएपछि कृषकहरू सुन्तलाखेतीमा लागेको उनले जानकारी दिए । उनले भने ‘मकै, कोदोखेती गर्न त मिल्छ, तर सुन्तला लगाउनका लागि उपयुक्त रहेकाले सबैजना सुन्तला खेतीमै आबद्ध हुनुहुन्छ ।’ यहाँका कृषकले कम्तीमा २० देखि ८०० सम्म सुन्तलाका बोट लगाएका छन् ।

मङ्सिर महिनामा धान भित्र्याउने समय भए पनि यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला भएकाले कृषक यतिबेला सुन्तला टिप्न र बिक्री गर्न व्यस्त छन् । बेनीकोटका १०० घर सुन्तलाखेतीमा आबद्ध छन् । यहाँका कृषकले रु २० हजारदेखि रु १६ लाखसम्म आम्दानी गर्ने गरेका छन् । यहाँ प्रत्येक वर्ष कात्तिकदेखि मङ्सिर महिनामा सुन्तला टिपेर बिक्री गर्ने गरिन्छ । कृषक आफैँले सुन्तला बिक्री गर्नुपर्दा व्यास नगरपालिकाले प्रतिक्रेट रु दश कर लिने गरेको कृषकको गुनासो छ। –रासस

विराटनगरविरुद्ध सुदूरपश्चिम ब्याटिङमा, दुवै टोलीमा खेलाडी परिवर्तन

काठमाडौं । काठमाडौँमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शनिबार) विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङ गर्ने भएको हो । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ सुरु गरेको छ । दुवै टोली प्लेअफमा पुगिसकेका छन् ।

विराटनगर किङ्सलाई शीर्ष २ मा पर्नका लागि राम्रो अन्तरको जित आवश्यक छ । सुदूरपश्चिम भने पराजित भए पनि शीर्ष स्थानमै रहने पक्का छ । उसले अपराजित यात्रा जारी राख्दै आफ्नो दबदबा कायमै राख्ने लक्ष्यमा छ ।विराटनगरले आजको खेलमा अघिल्लो टोलीबाट चार खेलाडी परिवर्तन गरेको छ भने सुदूरपश्चिमले २ खेलाडी परिवर्तन गरेको छ ।

सुदूरपश्चिमको टोलीः
दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अविनास बोहोरा, इसान पाण्डे, विनोद भण्डारी, दीपक बोहोरा, जस ब्राउन, हरमित सिंह, हिक्मत महरा, ध्रुव परासर, पुनित मेहरा ।

विराटनगरको टोलीः
प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, सन्दीप लामिछाने, सूर्य तामाङ, शंकर राना, नरेन भट्ट, साम हिजलेट, फाफ डु प्लेसिस, मार्टिन गप्टिल, मर्चेन्ट डि लाङगे ।