`

बाढीले पुल बगाएपछि विद्यालय पुग्न ‘रबरबोट’ को भर

ओखलढुङ्गा । ओखलढुङ्गाको ढेबुवाका स–साना विद्यार्थीहरू ‘रबरबोट’ को भरमा दैनिक सुनकोशी नदी पार गरेर सिन्धुलीका विद्यालयमा पढ्न जान बाध्य छन् । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ र सिन्धुलीको फिक्कल गाउँपालिका–६ जोड्ने झोलुङ्गे पुल गत वर्ष असोजको बाढीले बगाएपछि ढेबुकाका २६ जना विद्यार्थी रबरबोट चढेर जोखिम मोल्दै सुनकोशी नदी पार गरेर पढ्न जान बाध्य भएका हुन् ।

गाउँमा राम्रो पढाइ हुने विद्यालय नभएका कारण ढेबुवा र जेरुङघाटका विद्यार्थीहरू छिमेकी जिल्ला सिन्धुलीको फिक्कल गाउँपालिकाका रत्न गङ्गा मावि र आधारभूत विद्यालय राईगाउँ तीनखण्डेमा पढ्दै आएका छन् । बाढीले पुल बगाएपछि विद्यार्थीहरू लामो समय पढाइबाट वञ्चित भएका थिए ।

केही समय अगाडि गृह मन्त्रालयबाट बोट ल्याएर पालिकाको व्यवस्थापनमा सञ्चालन गरेर विद्यार्थीलाई सुनकोशी तार्ने गरिएको रत्न गङ्गा माविका विव्यस अध्यक्ष रोशन भण्डारीले बताए। बोटबाट विद्यार्थी तार्ने काम जोखिमपूर्ण र अस्थायी भएकाले स्थायी समाधानका लागि पुल निर्माणको माग गरिएको उनको भनाइ छ ।

ओखलढुङ्गाका जनप्रतिनिधिले आफ्ना क्षेत्रका विद्यार्थीको समस्या समाधानमा पहल नगरेको उनको भनाइ छ । ‘अर्को जिल्ला, अर्को प्रदेशका विद्यार्थी भए पनि हाम्रो विद्यालयमा पढ्ने बालबालिका गत असोजको बाढीले पुल बगाएपछि पढाइबाट वञ्चित भए । लामो समयसम्म त्यो जिल्लाका सांसद रामहरि खतिवडा र सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङसँग समन्वय गर्न खोजियो तर उहाँहरूले वास्ता नगरेपछि गृहमन्त्रालयबाट रबरबोट ल्याइयो, फिक्कल गाउँपालिको व्यवस्थापनमा बोट सञ्चालन गरेर विद्यार्थीलाई विद्यालय ल्याउने लैजाने गरिएको छ’, विव्यस अध्यक्ष भण्डारीले भने, ‘जोखिमपूर्ण अवस्था छ तर विकल्प छैन, त्यसैले दिगो समाधान भनेकै ढेबुवा र तीनखण्डे जोड्ने पुल निर्माण हो त्यसका लागि पनि हामीले माग गरिरहेकका छौँ ।’

उनका अनुसार सुनकोशी पारिका विद्यार्थीलाई मौसम हेरेर नदीमा बाढी आउने–नआउने आंकलन गरेर विद्यालय ल्याउनुपर्ने र दिउँसो बाढी आए त्यो बेलुका सिन्धुलीमै बसोबासको प्रबन्ध मिलाउने गरिएको छ । विद्यार्थी ओसारपसारका लागि सुनकोशीमा बोट चलाउन फिक्कल गाउँपालिकाले सुरुदेखिनै एक जना कर्मचारी राखेको थियो । सुनकोशी गाउँपालिकाले पनि एक जना कर्मचारी राखेर तलब दिने आश्वासन दिएको छ ।

बाढीले पुल बगाएपछि विद्यार्थीलाई विद्यालय ल्याउन अस्थायी विकल्पका रूपमा रबरबोट सञ्चालन गरिए पनि तीनखण्डेमा पुल निर्माणको पहल भइरहेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले बताए । तालिमप्राप्त कर्मचारी राखेर रबरबोट सञ्चालन गरी छिमेकी जिल्लाका विद्यार्थीलाई विद्यालय जाने र त्यस क्षेत्रका स्थानीय नागरिकलाई समेत नदी पार गर्न सहयोग गरिएको उपाध्यक्ष बरालको भनाइ छ ।

‘हाम्रो बाध्यता र कार्यक्षेत्रभित्रको समस्या होइन यद्यपी छिमेकी जिल्ला भएपछि र विगतदेखि हाम्रै विद्यालयका विद्यार्थी भएकाले ती अबोध बालबालिका लामो समय पढाइबाट वञ्चित भएको देखेर वैकल्पिक व्यवस्था गरी विद्यालय ल्याउने र घर फर्काउने गरिएको छ’, उपाध्यक्ष बरालले भने, ‘तीनखण्डेमा पुल निर्माणको पहल गरिरहेका छौँ । सबैको काम पनि भइसकेको छ तर सरकार परिवर्तन भएसँगै यो योजना ओझेलमा परेको छ ।’ पुल निर्माणका लागि निरन्तर पहल गरिरहेको उनको भनाइ छ ।

सुनकोशी नदी किनारमा बिहान ५ः०० बजेदेखि नै विद्यार्थीहरू भेला हुन्छन् । बालकक्षादेखि १२ कक्षासम्म पढ्ने विद्यार्थी भएकाले एसइईको तयारीमा रहेका विद्यार्थीहरू बिहान कोचिङ पढ्न आउने र अन्य विद्यार्थी ९ः०० बजे सुनकोशी किनारमा आउने गरेका छन् । विद्यार्थी तार्न तीन वटा बोट राखिएको छ । जोखिमपूर्ण हुने भएकाले उमेर समूह अनुसार पालैपालो बोटमा राखेर सुरुमै अनुशासनमा बस्न, नहल्लीन, नचल्न निर्देशन दिएर नदी तारिन्छ ।

बाढीले पुल बगाएपछि १० मिनेटको बाटो दुई घण्टा लगाएर छिमेकी जिल्ला विद्यार्थीहरू घुमेर विद्यालय आउनुपर्ने बाध्यता अन्त्य गर्न बोट सञ्चालनपछि सहज भएको फिक्कल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले जानकारी दिए । बोटमा आउने कोशीपारिका विद्यार्थीलाई विशेष प्राथमिकतामा राखेर दिवाखाजा, छात्रवृत्तिजस्ता कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको उनको भनाइ छ ।

रबर बोट (डुङ्गा) सञ्चालन भए पनि बर्सातको समयमा भने जोखिम हुने भएकाले तत्काल पुल निर्माण गर्न स्थानीयले माग गरिरहेका छन् । छोराछोरी विद्यालय पठाउन सुनकोशी नदी किनारसम्म आएका अभिभावक विद्यार्थी बोटचढेपछि पारी नपुग्दासम्म र साँझ फर्किने बेला वारी नआउँदासम्म पिरमा बस्ने गरेका छन् । ‘नानीबाबुलाई खोलामा हेलाएर टुलुटुलु हेर्नुपर्छ आधा भाग कटेर पारि पुगेपछि ढुक्क हुन्छ फेरि बेलुका फर्किने बेला उस्तै पिरलो हुन्छ’, जेरोङघाटकी चन्द्रकुमारी माझीले भनिन् ।

‘ढुङ्गामा बोट ठोकिँदा पनि नानीहरू डराएर चिच्याउँछन् कराउँछन् त्यो बेला भक्कानु छुटेर आउँछ । भगवान् पुकार्दै छोराछोरी पढाउन पठाउँछौँ ।’ पुल नहुँदा यस क्षेत्रका नागरिकको दैनिकी पनि प्रभावित भएको छ । घरायसी सामान किन्न डेढ घण्टा पैदल हिँडेर घुर्मी पुग्नुपर्ने बाध्यता छ । सिन्धुली क्षेत्र सुगम र नजिकै सुनकोशी नदीपारि रहेको ओखलढुङ्गा क्षेत्र दुर्गम छ । –रासस

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्योलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको मुख्य चुनौती बनेको फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज निर्माण गर्ने योजना अन्यौलमा परेको छ।

फापरखेतको पहिरोको विकल्पमा मङ्गला गाउँपालिका–३ पखेर र २ सिमलचौर जोड्ने म्याग्दी नदीमाथी मोटरेबल पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजन गरेपनि कार्यान्वयनमा अन्यौल भएको हो । म्याग्दी १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले संघीय सरकारले बेलिब्रिज उपलब्ध गराउन ढिलाइ गर्दा बेलिब्रिज बनाउने योजना अन्यौलमा परेको बताए ।

‘प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले दुई वर्षअघि सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्रालयलाई ५५ मिटर लामो जगेडा बेलब्रिज मागेको थियो,’ उनले भने, ‘संघीय सरकारले बेलिब्रिज उपलब्ध गराउने, प्रदेश सरकारले जडान गर्ने र पहुँचमार्ग बनाउने समझदारी कार्यान्वयन नहुँदा समस्या भएको हो ।’

प्रतिनिधिसभाका निवर्तमान सांसद खमविर गर्बुजाले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री हुँदा बेलिब्रिज व्यवस्थापनका लागि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयसँग समन्वय गरिरहेका थिए । ‘बेलब्रिज प्रदेश सरकारलाई हस्तान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको अवस्थामा जेनजी आन्दोलनसँगै सरकार परिवर्तन भयो,’ गर्बुजाले भने, ‘पछिल्लो सरकार बनेपछि पनि बेलिब्रिजका लागि निरन्तर पहल गरेपनि उपलब्धि हुन सकेको छैन ।’

बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा सडकमुनि म्याग्दी नदी छ भने माथितिर ठूलो पहिरो छ । विसं २०६० अघि मार्ग खुलेको सडक निर्माण भएदेखिकै हरेक बर्खायाममा वर्षा हुनेबित्तिकै पहिरो खस्ने र २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकमा सीधा यातायात सेवा बन्द हुने गरेको छ । दुर्घटनाको जोखिम बढाएको छ ।

माथिबाट पहिरो खसिरहने र साँघुरो उक्त ठाउँको सडकबाट पछिल्लो दुई महिनामा दुई वटा मालवाहक ट्रक म्याग्दी नदीमा खसेर दुर्घटना भएको छ । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्छन् ।स्थानीयवासीलाई आवतजावत, बिरामीलाई अस्पताल पुर्‍याउन, दूध, तरकारी, फलफूल बजार लैजान, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी गर्न समस्या भएको मंगला गाउँपालिका–२ सिमका ध्रुव खत्रीले बताए । ‘साँघुरो सडकमा गुडिरहेका सवारीसाधनमाथि पहिरो खसेर चोटपटक लाग्ने, सवारीसाधनमा क्षति पुग्ने गरेको छ,’ उनले भने, ‘जुनसुकै बेला पहिरो खस्ने खतरा भएकाले यात्रा गर्न जोखिम छ ।’

म्याग्दी नदीमा निर्माणाधीन तीन वटा जलविद्युत् आयोजना र डाडाखेत राहुघाट सवस्टेशन तथा प्रसारण लाइन, सडक, भवन, खानेपानी, सिँचाइलगायत विकास आयोजनाहरूमा पनि पहिरोका कारण असर परेको छ । तत्कालीन जिविसले सडकमुनि पक्की पर्खाल निर्माण गरेर म्याग्दी नदीको कटान रोकथाम गरे पनि सडकमाथिको पहिरो नियन्त्रणका लागि भएका प्रयास असफल र लगानी खेर गएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले सडकमा खसेको पहिरो पन्छाउने र यातायात सञ्चालनको व्यवस्था मिलाएको छ । –रासस

‘मधेशमा कांग्रेस–एमालेका मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा सरोज र श्रीकृष्णले तोडे’

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मधेशमा कांग्रेस र एमालेका मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा तोडिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सरोज यादव र श्रीकृष्ण यादवले त्यो धारणा तोडेको पोखरेलले बताएका हुन् । नेपाली राजनीतिमा देखिएको यो परिवर्तन सकारात्मक र स्वागतयोग्य रहेको उनको भनाइ छ ।

‘मधेस प्रदेशमा कांग्रेस र एमालेका नेता मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा एमाले नेता सरोज यादवले जोखिम मोलेर तोडे। त्यसपछि अहिले नेपाली कांग्रेसका नेता श्रीकृष्ण यादव मधेसवादी दलको समर्थनमा मुख्यमन्त्री बन्न सफल भए’ उनले लेखेका छन्, ‘नेपाली राजनीतिमा देखिएको यो परिवर्तन निश्चय नै सकारात्मक र स्वागतयोग्य छ । मधेसी जनताको जनादेश अनुरूपको नेतृत्व स्थापित हुनु लोकतान्त्रिक परिपक्वताको संकेत हो ।’

 

 

कुलमान घिसिङको पार्टीबाट विद्या श्रेष्ठले दिइन् राजीनामा

काठमाडौँ । ‘उज्यालो नेपाल पार्टी’ की केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छिन् । उनले आज (शनिबार) सामाजिक सञ्जालमार्फत उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट अलग हुने घोषणा गरेकी हुन्।

श्रेष्ठले हालै हेटौँडामा भएको सडक विस्तारका क्रममा राज्यले अपनाएको बलपूर्वक कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै राजनीतिक पद त्याग्ने निर्णय लिएको उल्लेख गरेकी छिन् । उनका अनुसार सडक विस्तारको नाममा सरकारले मानव अधिकारविरुद्धको कार्य गरेका कारण आफूले पार्टीको जिम्मेवारी वहन गर्न ‘नैतिक रूपमा असमर्थ’ भएको बताएकी छिन् ।

‘म आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु । अरू अभियन्ता साथीहरू के गर्नु हुन्छ ? मेरो नैतिकताले दिएन । म हेटौंडा पीडितको साथ छु,’ उनले लेखेकी छन् । यसअघि सडक डिभिजनले १५ दिनको समय दिँदै मंसिर १९ गतेभित्र सडक क्षेत्रमा पर्ने घरटहरा हटाउन सम्बन्धित व्यवसायी तथा घरधनीलाई सार्वजनिक सूचना गरेको थियो । तर अटेर गरेपछि आज बिहानैदेखि ती संरचना भत्काउन थालिएको हो । शुक्रबार मात्र सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

जनकपुरमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज (शनिबार) धनुषाको जनकपुरमा एकता सन्देश सभा गर्दैछ । धनगढी, दाङ, पोखरा र विराटनगरमा सभा गरिसकेको नेकपाले जनकपुरको तिरहुतियामा आज मधेश प्रदेशस्तरीय एकता सन्देशसभा आयोजना गर्न लागेको हो ।

सभामा पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । सभामा प्रदेशभरबाट ४० हजार बढी नेता–कार्यकर्ता उपस्थित गराउने तयारी भइरहेको छ ।

नेकपाले २७ गते सुर्खेतमा सभा गर्दैछ । यसअघि मंसिसर २३ गते मकवानपुरको हेटौँडामा सभा ससमापन गर्ने तयारी गरिए पनि यो मिति सारिएको छ । बागमतीका सबै जिल्लाको प्रतिनिधित्व हुनेगरी उपत्यकामै भेलाको तयारी भइरहेको छ ।

दुर्गा प्रसाईलाई मन्त्री पुनको सुझाव : हावादारी कुरा गर्‍यो भने हाँसोको पात्र भइन्छ

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले मेडिकल व्यवसायी दुर्गा प्रसाईले सार्वजनिक रुपमा गर्दै आएका विभिन्न आर्थिक तथा नीतिगत वाचा व्यवहारिक र सम्भव नभएको टिप्पणी गरेका छन् । पछिल्ला दिनहरूमा प्रसाईले जनतालाई आकर्षित गर्ने उद्देश्यले अघि सारेका प्रस्तावबारे प्रश्न उठाउँदै मन्त्री पुनले असम्भव प्रतिज्ञाबाट जनता भ्रमित नपार्न आग्रह गरेका हुन् ।

पुनका अनुसार देशको वर्तमान आर्थिक अवस्था अत्यन्तै प्रतिकूल रहेको बेला सामान्य भत्ता वितरणसम्म गर्न नसकिरहेको सरकारकहाँ लाखौं जनालाई कालोसूचीबाट हटाउने, सुरक्षा निकायको तलब एकै पटक एक लाख पुर्‍याउने वा २० लाखभन्दा तलका ऋण मिनाहा गर्ने जस्ता घोषणा गर्न सकिने अवस्था छैन ।

सामाजिक सञ्जाल ट्वीटर (एक्स) मा लेख्दै उनले देशभरका विद्यालयहरूले अभावका कारण सहयोग माग्दा बजेट अभावकै कारण सरकारले सहयोग गर्न नसकिरहेको उदाहरण दिएका छन् । ‘स्थानीय भत्ता र महँगी भत्ता दिन सकिरहेका छैनौं । छाना र कक्षाकोठा नपाएर गुहार माग्ने विद्यालयलाई खाली हात फर्काउनु परेको छ’, मन्त्री पुनले भनेका छन् ।

उनका अनुसार शिक्षक अभावको समस्या चुलिँदै गएको छ तर आवश्यक शिक्षक पठाउन पनि बजेटको जोहो छैन । यस्तै, प्रसाईका घोषणाले वित्तीय प्रणालीमै जोखिम आउने मन्त्री पुनको तर्क छ । ‘जनताले बैंकमा जम्मा गरेको पैसा नै जोखिममा पर्छ । कुवेर भएर पैसा फ्याँके जस्तो गरेर बाँड्न मिल्दैन’, उनले टिप्पणी गरेका छन् ।

मन्त्री पुनले विगतमा ‘रेल ल्याउने, पानीजहाज चलाउने, १२ वर्षमै नेपाललाई धनी देश बनाउने, सिंगापुर बनाउने’ जस्ता अनेकौं हावादारी आश्वासनले देशमा निराशा मात्रै थपेको स्मरण गराउँदै व्यावहारिक योजना र तथ्यमा आधारित संवाद गर्न सबै पक्षलाई आग्रह गरेका छन् । उनले भनेका छन्, ‘बुझेर कुरा गरौं । जनतालाई सपनाको मिठो पोको बाँडेर भोलि हाँसोको पात्र बन्नु उचित होइन ।’

प्रधानमन्त्री सुशीला कार्कीले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग छलफलको तयारी गरिरहेकी छिन् । प्रधानमन्त्री कार्कीले प्रसाईलाई छलफलका लागि मंसिर २२ गतेको समय दिएकी छन् । प्रधानमन्त्रीले समसामयिक विषयमा छलफल तथा भेटघाटका लागि सिंहदरबार बोलाइएको प्रधानमन्त्रीको सचिवालयले यसअघि नै जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राजसंस्था पुनःस्थापनाको वकालत गर्दै आएका विवादास्पद मेडिकल व्यवसायी प्रसाईलाई वार्ताका लागि बोलाएको हो । उनलाई वार्तामा आउन आग्रह गर्दै कार्यालयले पत्र पठाइसकेको छ ।

आफ्नो माग पुरा नभएमा फागुन २१ गते निर्वाचन हुन नदिने घोषणा गरेका प्रसाईसँग सोही सन्दर्भमा छलफल गर्न लागिएको कार्यालय स्रोतले बताएको छ । स्रोत भन्छ, ‘प्रसाईलाई आमन्त्रण पत्र पठाइएको छ । उनले फागुन २१ गते निर्वाचन हुन नदिने भनेका छन्, त्यही विषयमा छलफल गर्न होला ।’ गृहमन्त्री ओमप्रकाश अर्यालले गत मंसिर १२ गते प्रसाईसँग सिंहदरबारमा छलफल गरेका थिए । प्रसाईले सरकार समक्ष विभिन्न माग राख्दै आएका छन् । यसै सन्दर्भमा मन्त्री पुनले प्रसाईलाई यस्तो सुझाव दिएका हुन् ।

हेटौंडामा सडक बिस्तार : अतिक्रमित संरचनामा बिहानैदेखि चल्न थाल्यो डोजर

मकवानपुर । सडक डिभिजन हेटौंडाले आज (शनिबार) बिहानदेखि नै सडक विस्तार कार्यको सुरूवात गरेको छ । सडक डिभिजन कार्यालय हेटौँडाले मंसिर ५ गते सूचना जारी गर्दै १५ दिनभित्र घर टहरा हटाउन आग्रह गरेको १५ दिने म्यादपछि आज (शनिबार) बिहानैदेखि सडकमा उत्रिएको हो ।

उसले सडक विस्तारका लागि आवश्यक बन्दोबस्तीको सामान र जनशक्तिसहित हेटौँडाको राप्तीरोडबाट केही घरहरु भत्काउन शुरु गरेको हो । सडक विस्तारका क्रममा दायाँबायाँ २५–२५ गजभित्र पर्ने संरचना सुरक्षाकर्मीको उपस्थितिमा भत्काउन सुरु गरिएको हो ।

२०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास भए पनि रोकिँदै आएको थियो र शुक्रबार पनि रास्वपाकी समानुपातिक निवर्तमान सांसद विन्दबासिनी कंसाकारसहित केहीको घर नभत्काउन र मंसिर २६ गते सछलफलमा आउन सडक डिभिजन र सरोकारवालालाई भनिए पनि शुक्रबार ३ बजेसिम्म कुनै पत्र नआइपुगेको भन्दै सडक डिभिजनले सडक विस्तार नरोकिने बताएको थियो ।

हेटौँडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकबाट सामरी पुलसम्म सडक विस्तार शुरु भएको हो । २५ मिटर क्षेत्रमा परेका घर टहरा हटाउँदै हेटौँडामा राजमार्गको आवागमन समेत वैकल्पिक व्यवस्था गरिएको छ ।

 

प्लेअफमा पुग्न लुम्बिनीलाई १३३ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को प्लेअफमा पुग्न लुम्बिनी लायन्सले १३३ रनको लक्ष्य पाएको छ । जनकपुरले लुम्बिनीसामु जितका लागि १ सय ३३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३२ रनको योगफल तयार पार्‍यो।

जनकपुरका लागि संगीत कोरेले बनाएको ४५ रन नै सर्वाधिक रह्यो। उनले ३८ बलमा २ चौका प्रहार गरे।

मयन यादव २७ रनमा नटआउट रहे। आशिफ शेखले २० र सञ्जय कृष्णमुर्तिले १४ रन थपे। शुभ कंसाकार ११ रन बनाउँदा शेर मल्लको बलमा बोल्ड आउट हुन पुगे।

अनिल साह ७ रन बनाउँदा रुवेन टम्पलम्यानको बलमा एलबीडब्लु धरापमा परे।

लुम्बिनीका लागि शेर मल्ल र रोहित पौडेलले समान २ विकेट लिए। जेजे स्मिथ र रुवेनले समान एक विकेट आफ्नो नाममा गरे।

लुम्बिनीले आजको खेलमा जित निकाले प्लेअफमा स्थान पक्का गर्नेछ। जनकपुरको हारले प्लेअफ सम्भावना सकिनेछ। लुम्बिनी जनकपुरलाई हराउँदै प्लेअफमा स्थान पक्का गर्न चाहन्छ।

कांग्रेसका यादव मधेशको छैटौं मुख्यमन्त्री नियुक्त

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त भएका छन् । योसँगै मधेशले छैटौं मुख्यमन्त्री पाएको छ । प्रदेशमा नेपाली कांग्रेसले भने पहिलो पटक मुख्यमन्त्री पाएको छ । यादवले ७७ जना सांसदको समर्थनमा दाबी पेस गरेका थिए । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा बहुमत प्रदेश सभा सदस्यको हस्ताक्षरसहित उनले दाबी पेस गरेका हुन् ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा ३ जना सांसद निलम्बनमा छन् । त्यसैले सरकार बनाउन तत्काल कायम रहेका १०४ सदस्यको बहुमत ५३ जनाको समर्थन चाहिन्छ । गत बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । सात दलीय गठबन्धनले कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने आजै सहमति गरेका थिए । जसपा, जनमत, लोसपा, माओवादी, नेकपा एस र नागरिक उन्मुक्तिका सांसदले समर्थन गरेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएसँगै एक साताभित्रै विश्वासको मत लिने सात दलीय गठबन्धको तयारी छ । सातै दलका नेताहरूले दाबीपत्रमा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे खगेन्द्र, मागे माफी

काठमाडौं । ‘हाम्रो पार्टी नेपाल’ का अध्यक्ष खगेन्द्र सुनारले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आफ्नो कारणले आलोचना खेप्नु परेको भन्दै माफी मागेका छन् । अध्यक्ष सुनारसँगै हाम्रो पार्टी नेपालको टोली शुक्रबार प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार पुगेको थियो । भेटका क्रममा प्रधानमन्त्री कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनु पर्ने बताइन् ।

प्रधानमन्त्री कार्कीले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अवस्था आउन नदिन देशव्यापी रूपमा जनजागरण ल्याउन पनि सुझाव दिइन् । सरकारले पाएको कार्यादेशभित्र रहेर दलित तथा उत्पीडित समुदायको अधिकतम प्रतिनिधित्व कसरी हुनसक्छ भनेर आफूले पनि प्रयास गर्ने बताइन् ।

हाम्रो पार्टी नेपालका अध्यक्ष सुनार नेतृत्वको टोलीले निर्वाचन कानुनमा दलितमैत्री व्यवस्थाका लागि आग्रह गरेको थियो । समानुपातिक निर्वाचन प्रणालीतर्फ विद्यमान व्यवस्थाले खस–आर्य समुदायलाई नै पहिलो प्राथमिकतामा राखेकाले दलित समुदायको उचित प्रतिनिधि हुन नसकेकोबारे आफ्नो मत प्रधानमन्त्रीलाई राखेको अध्यक्ष सुनारले बताए । यसअघि आफ्नो निजी कारणले प्रधानमन्त्रीले आलोचना खेप्नुपरेको भन्दै अध्यक्ष सुनारले क्षमायाचना समेत गरेका थिए । उनले विषम परिस्थितिमा मुलुक सम्हाल्न अगाडि सरेकामा प्रधानमन्त्री कार्कीप्रति आभार पनि व्यक्त गरेका छन् ।

 

बालुवाटारमा सर्वपक्षीय बैठक शुरु, को–को छन् उपस्थित ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठक शुरु भएको छ । शुक्रवार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सवपक्षीय बैठक शुरु भएको हो । बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निर्वाचन आयोगका पदाधिकारी, नेपाल, नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा, नेतृ पुष्पा भुसाल, नेकपा एमालेबाट महासचिव शंकर पोखरेल, नेता महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल, सोविता गौतम लगायतका नेताहरुको उपस्थिति रहेको छ । सर्वपक्षीय बैठकमा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन तयारीबारे छलफल भइरहेको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनबारे जानकारी गराएका छन् ।

बैठकमा को–को छन् ?
निर्वाचन आयोगबाट

कार्यवाहक प्रमुख आयुक्त, रामप्रसाद भण्डारी

आयुक्त, जानकीकुमारी तुलाधर

आयुक्त, सगुनशमशेर राणा

सचिव, महादेव पन्थ

सहसचिव, नारायण प्रसाद भट्टराई

सहसचिव, यज्ञप्रसाद भट्टराई

सहसचिव, राजेन्द्रकुमार केसी

दलहरूबाट

गगन थापा, पुष्पा भुसाल (नेकां)

शंकर पोखरेल, महेश बर्तौला (एमाले)

शक्ति बस्नेत, प्रकाश ज्वाला (नेकपा)

शिशिर खनाल, सोबिता गौतम (रास्वपा)

राजेन्द्र गुरुङ, भुवन पाठक (राप्रपा)

प्रकाश अधिकारी (जसपा नेपाल)

नरेन्द्र चौधरी (जनमत)

सरकारबाट

प्रधानमन्त्री, सुशीला कार्की

अर्थमन्त्री, रामेश्वर खनाल

गृहमन्त्री, ओमप्रकाश अर्याल

कानुनमन्त्री, अनिलकुमार सिन्हा

सञ्चारमन्त्री, जगदीश खरेल

सुरक्षा निकायबाट

अशोकराज सिग्देल, प्रधानसेनापति

दानबहादुर कार्की, प्रहरी महानिरीक्षक

राजु अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक

टेकेन्द्र कार्की, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख

क्यानका महानिर्देशक अधिकारीको बयान सकियो, आइतबारसम्म थुनामै रहने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दा ‘हेर्न नमिल्ने’ मा परेपछि स्थगित भएको छ । विशेष अदालतले आजका लागि तोकेको थुनछेक बहस सकिएको भए पनि अघि बढ्न नसकेपछि आउँदो आइतबारसम्मका लागि स्थगित भएको हो । अधिकारी आइतबारसम्म थुनामै रहने भएका छन् ।

न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइराला रहेको इजलास नम्बर–२ मा पेशी तोकिएको थियो । भ्रष्टाचारको अभियोग लागेका अधिकारीसँग न्यायाधीशको केही नाता सम्बन्ध वा अरु कुनै कारणले जोडिएको हुनाले मुद्दा ‘हेर्न नमिल्ने’ मा गएपछि स्थगित भएको हो । त्यसपछि इजलासले मुद्दालाई आइतबार पेश गर्न आदेश दिएको छ । त्यतिञ्जेलसम्म उनलाई अख्तियारकै जिम्मा लगाइएको विशेष अदालतका उपरजिस्ट्रार मुकुन्द निरौलाले जानकारी दिएका छन् ।

 

मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेस

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन् । आज (शुक्रबार) सात दलीय गठबन्धनको तर्फबाट यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् । नयाँ सरकार गठनको गृहकार्यमा लागेका सातदलसँग मधेस प्रदेश सभामा दुई तिहाई भन्दा धेरै मत छ । प्रदेश प्रमुख कर्णले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका थिए ।

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवले ७७ जना सांसदको समर्थनमा दाबी पेस गरेका हुन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा बहुमत प्रदेश सभा सदस्यको हस्ताक्षरसहित उनले दाबी पेस गरेका हुन् । १०७ सदस्यीय मधेश प्रदेशसभामा ३ जना सांसद निलम्बनमा छन् । त्यसैले सरकार बनाउन तत्काल कायम रहेका १०४ सदस्यको बहुमत ५३ जनाको समर्थन चाहिन्छ ।

ठूलो दलको हैसियतमा गएको कात्तिक २४ गते मधेसको मुख्यमन्त्री नियुक्त भएका सरोज यादवले प्रदेशसभामा बहुमत सिद्ध गर्न नसकेपछि गएको बुधबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि एमालेबाहेकका सात दल मधेसमा नयाँ सरकार गठनको लागि अघि सरेका हुन् ।
नेपाली कांग्रेस मधेस प्रदेश सभामा एमालेपछि दोस्रो ठूलो दल हो। प्रदेस सभामा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीका १–१ सांसद छन्।

 

जनतासँग गरिएका प्रतिवद्धताहरु पूरा गर्न सकिँदैन कि भन्ने डर लाग्छ : सुनिता डंगोल

काठमाडौं । काठमाडौं उपमहानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनतासँग वाचा गरिएका कुराहरु पूरा गर्न नसक्दा आफूलाई डर लाग्ने गरेको बताएकी छन् । १४ औं काठमाडौं महानगरपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सामूहिक रुपमा सल्लाह गरेर मात्रै अघि बढाउने कुराहरु गरेर मात्रै भन्न आफूलाई उचित लाग्ने समेत बताइन् ।

उनले महिला स्वास्थ्य स्वयंसेविकाहरुले जनताको घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिइरहेको भन्दै प्रशंसा गरिन् । उनले महिला स्वास्थ्य स्वयंसेविकाहरुको स्वास्थ्य विमामा देखिएको समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन समेत दिइन् ।

उपमेयर डंगोलले भनिन्, ‘कति कामहरु गरेर भन्नु अझ राम्रो हुन्छ होला । आफनै हातमा सबै कुराहरु भई दिएको भए त गरिएका वाचाहरु पूरा गर्न सजिलो पनि हुन्थ्यो । कतिपय एकल अधिकारमा नपर्ने कुराहरु पनि हुनाले त्यसलाई सम्पादन गर्न सामूहिक रुपमा सरसल्लाह गर्नुपर्ने हुन्छ । चाहे त्यो कार्यपालिकामा होस्, चाहे त्यो नगरसभामा होस । सबैको सहमतीमा अघि बढनुपर्ने हुन्छ । त्यसले आज वाचा गरेर भोली पूरा गर्न सकिँदैन कि भन्ने डर पनि हुन्छ । वाचाअनुसार काम गरेको खै त भनेर सोध्नुहुन्छ भन्ने कुरा पनि थाहा छ । हामीहरुले क्रमशः काम गर्दै गईरहेका छौ । यहाँको सेवा, सुविधाका कुरा छन । स्वास्थ्य बीमाको कुरा उठाउनु भएको छ । त्यो सल्लाह गरेर पूरा गर्छौं ।’ त्यस अवसरमा उपमेयर डंगोलले प्रतिवद्धताअनुसार काम गर्दै लैजाने समेत बताइन् ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई १० लाख पुर्‍याओस् : सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले स्वास्थ्य बीमा कार्यक्रमलाई १० लाख पुर्‍याउनु पर्ने बताएका छन् । शुक्रवार भक्तपुरको कौशलटारस्थित पुलमुनि बस्दै आएको इलामका एक व्यक्तिलाई उद्धार गरी अस्पतालमा उपचार गर्न लैजाने क्रममा उनले यस्तो बताएका हुन् । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई पाँचदेखि १० लाखसम्म पुर्‍याउनु पर्ने अहिलेको आवश्यकता भएको उल्लेख गरे ।

आफूले यसबारेमा सार्वजनिक महत्वको प्रश्ताव नै संसदमा दर्ता गरिसकेको उनको भनाइ छ । वर्तमान सरकारले पनि यसबारेमा उचित कदम चाल्नुपर्ने उनको आग्रह छ । उपचार नपाएर तड्पिएका नागरिकहरु नेपालमा हजारौँको संख्यामा रहेको भन्दै यो समस्या सरकारीस्तरबाटै समाधान हुनुपर्ने जिकिर गरे । राज्यको नीतिबाटै उनीहरुको स्वास्थ्योपचारको ग्यारेन्टी हुनुपर्ने बताए ।

एक हजार शैंयाको निःशुल्क उपचार गर्ने अस्पताल निर्माण गर्ने आफ्नो लक्ष्य रहेको बताए । शुक्रवार शर्माले भक्तपुरको कौशलटारस्थित हनुमन्ते खोलाको पुलमुनि बस्दै आएका इलामका एक नागरिकको पेट सुन्निएको र उपचार गर्न नसकेको भन्दै उनलाई केएमसी अस्पताल लगेर उपचार शुरु गरिएको हो । उक्त व्यक्तिको पेट सुन्निएको एक हप्ता भइसकेकाले उपचार जरुरी रहेको उनको भनाइ छ ।

देउवा भेट्न महाराजगञ्ज पुगे ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न पुगेका छन् । देउवा निवास महाराजगञ्जमा केहीबेरअघि ओली पुगेका हुन् । दुई नेताबीच अहिले भेटवार्ता जारी छ । जेनजी आन्दोलनपछि दुई नेताहरूबीच पहिलो पटक भेटवार्ता भएको हो ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार दुवै नेताबीच साढे ३ बजे भेटवार्ता गर्ने गरी कार्यक्रम तय गरिएको थियो । स्रोतका अनुसार अहिले देउवा निवासमै दुवै शीर्ष नेताबीच भेटवार्ता जारी छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि उनीहरूबीच औपचारिक भेटघाट भएको थिएन । त्यसअघि एमाले र कांग्रेसबीच सत्ता साझेदारी कायम थियो ।

यसैबीच, आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तोकिएको बेला शीर्ष नेताहरूको भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण प्रयासका रूपमा हेरिएको छ । समसामयिक राजनीतिक घटनाक्रम, आगामी निर्वाचन रणनीति तथा सहयोगसम्बन्धी विषयमा छलफल हुने बताइएको छ । भदौ २४ गते बूढानीलकण्ठस्थित देउवा निवासमा उनमाथि आक्रमण भएको थियो । उपचारका लागि सिंगापुर गएका देउवा स्वदेश फर्किसकेका छन् । एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गरेको छ । ओली–देउवाबीचको भेटमा यो विषयमा समेत कुराकानी हुनसक्ने अनुमान गरिएको छ ।

जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै छन् । कीर्तिपुरस्थित मैदानमा जनकपुरले टस जितेर ब्याटिङ रोजेको छ । छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अतिआवश्यक छ । लुम्बिनीले जितेको खण्डमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरने छन् । यदि यो खेल जनकपुरले जितेमा अङ्कतालिका रोमाञ्चक हुनेछ । जनकपुरको हालसम्म पाँच खेलबाट दुई अङ्क मात्रै छ । जितेको खण्डमा चार अङ्क हुनेछ ।

त्यसपछि अन्तिम खेल बाँकी रहँदा सबै टोलीको प्रतिस्पर्धा बढ्नेछ । प्रतियोगितामा सुदूरपश्चिम रोयल्स अविजित रहँदै १२ अङ्कका साथ पहिलो क्वालिफायरका लागि छनोट भइरहेको छ । काठमाडौँ गोर्खाज र विराटनगर किङ्ग्स प्लेअफमा सुरक्षित छन् । कर्णाली याक्स भने यसअघि नै बाहिरिसकेको छ । मंसिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

 

‘प्लेअफ’ को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको २५औं खेल हुँदैछ । लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच हुने उक्त खेल ‘प्लेअफ’ मा पुग्ने अन्तिम टोलीसँग जोडिएकाले विशेष हुनेछ । हालसम्म ‘प्लेअफ’ मा पुग्ने चारमध्ये तीन टोलीको टुङ्गो लागेको छ । अङ्क तालिकाको पहिलो स्थानमा अपराजित सुदूरपश्चिम रोयल्स छ । सुदूरपश्चिम क्वालिफायर एकमा पनि स्थान सुरक्षित गरिसकेको छ । त्यस बाहेक काठमाडौँ गोर्खाज र विराटनगर किंग्स ‘प्लेअफ’ मा पुगे पनि क्वालिफायर एकको दौडमा छन् । क्वालिफायर एकमा सुदूरपश्चिमको सामना कस्ले गर्ने भन्ने निर्णय सुदूरपश्चिम र विराटनगरबीच शनिबार हुने खेलपछि टुङ्गो लाग्नेछ ।

उक्त खेल विराटनगरले जितेमा ऊसँग काठमाडौँ गोर्खाजसँग बराबरी अर्थात् १० अङ्क हुनेछ । त्यसपछि रनरेटका आधारमा क्वालिफायर एकमा जाने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । अहिले काठमाडौँ गोर्खाजको रनरेट ०.५३७ छ भने विराटनगरको रनरेट ०.१८९ छ । विराटनगरलाई क्वालिफायर एकमा पुग्नका लागि जित मात्रै पर्याप्त हुने छैन । उसले ठूलो अन्तरमा सुदूरपश्चिमलाई पराजित गर्नुपर्नेछ । यदि विराटनगरले उक्त खेल जित्न नसकेमा काठमाडौँ गोर्खाज स्वतः क्वालिफायर एकमा जानेछ भने विराटनगर किंग्सले क्वालिफायर दुईका लागि ‘एलिमिनेटर’ खेल्नु पर्नेछ ।

क्वालिफायर एकमा तालिकाका शीर्ष दुई टोलीले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् । साथै क्वालिफायर दुईमा पुग्नका लागि अङ्कतालिकामा तेस्रो र चौथो हुने टोलीले ‘एलिमिनेटर’ खेल्नेछन् । क्वालिफायर एकमा विजयी हुने टोली स्वतः फाइनलमा प्रवेश गर्ने छभने पराजित हुने टोलीले ‘एलिमिनेटर’ को विजेतासँग क्वालिफायर दुई खेल्नेछ । अब रह्यो कुरा प्लेअफमा पुग्ने चौथो टोलीको । यदि आज लुम्बिनी लायन्स विजयी भयो भने लुम्बिनी आठ अङ्कसहित स्वतः प्लेअफमा पुग्नेछ ।

यदि लुम्बिनी लायन्स पराजित भयो भने, प्लेअफका लागि जनकपुर बोल्ट्स, पोखरा एभेञ्जर्स र चितवन राइनोजको सम्भावना कायमै रहनेछ । कर्णाली याक्स भने यसअघि नै प्लेअफको दौडबाट बाहिर गइसकेको छ । लुम्बिनीविरुद्धको आजको खेल जनकपुरले जितेको अवस्थामा उसले कर्णाली याक्सलाई आफ्नो अन्तिम खेलमा पराजित गर्नुपर्ने छ भने पोखरा र चितवनका लागि आफ्नो अन्तिम खेल नकआउट हुनेछ । जनकपुरले आज र आइतबारको खेलमा जित निकालेको अवस्थामा उसले पोखरा र चितवनबीच हुने खेलको विजेतासँग रनरेटमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

मधेशमा कांग्रेसका यादवलाई मुख्यमन्त्री बनाउने सहमति

काठमाडौं । मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव प्रस्ताव भएका छन् । सात दलीय गठबन्धनले प्रदेश प्रमुखले दिएको समयभित्रै नियुक्तिका लागि उनको नाम प्रस्ताव गरेको लोसपाका सांसद उपेन्द्र महतोले जानकारीदिएका छन् । केहीबेरमा सात दलका नेताहरु प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष पुगेर दाबी पेस गर्ने तयारी रहेको लोसपा संसदीय दलका नेता जयनुल रायनले जानकारी दिए । सात दलमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी छन् । निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।

मधेस प्रदेश सांसद विच्छा पदमुक्त

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालकी मधेश प्रदेश सांसद कञ्चन विच्छा पदमुक्त भएकी छन् । उनलाई पदमुक्त गरेको सूचना आज मधेस प्रदेशसभा सचिवालयले प्रकाशन गरेको छ । संविधानको धारा १६८ को ३ बमोजिमको ठूलो दलको हैसियतमा नेकपा एमालेको सरकार बनेपछि विच्छा पार्टीको नीति विपरीत प्रदेश सरकारमा वन तथा वातावरण मन्त्री बनेकी थिइन् । उनलाई राप्रपाले तत्काल सरकारबाट बाहिरिन निर्देशन दिए पनि अटेर गरेपछि उनको प्रदेश सभा सदस्य खारेज गर्न प्रदेश सभालाई १२ मंसिरमा पत्राचार गरेको थियो ।

प्रदेश सभा सदस्य विच्छालाई राजनैतिक दल सम्बन्धी ऐन, २०७३ दफा ३४ बमोजिम निजलाई प्रदेश सभा सदस्यबाट निष्कासन गरेको सूचना सहित आवश्यक कारबाहीका लागि अनुरोध भन्ने पत्र राप्रपाले पठाएको थियो । प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १९० अनुसार राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ को २ तथा प्रदेश सभा कार्यसञ्चालन सम्बन्धी नियमावली, २०७५ को नियम १९१ बमोजिम सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रलोपाको प्रवक्तामा सन्तोष परियार

काठमाडौं । सन्तोष परियारले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को प्रवक्ताको जिम्मेवारी पाएका छन् । आज बसेको अध्यक्ष परिषद्को बैठकले परियारलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । प्रलोपाले ओजस्वी भट्टराईलाई सह–प्रवक्ताको जिम्मेवारी दिएको छ । परियार र भट्टराई दुवै अध्यक्ष परिषद्का अध्यक्ष हुन् ।

माओवादीका पूर्व उपमहासचिव जनार्दन शर्मा, रास्वपाका पूर्व प्रमुख सचेतक सन्तोष परियार र नेसपा (नयाँ शक्ति) का संयोजक दुर्गा सोब पक्ष मिलेर केही दिनअघि प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा भएको हो । पार्टीमा पूर्व प्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराई पनि सहभागी छन् । पार्टीको संरक्षकमा पूर्व प्रधानमन्त्री भट्टराई छन् । पार्टीको सामूहिक नेतृत्व युवा, महिलासहित समावेशी बनाउने विधान मस्यौदामा छ । पार्टीको चुनाव चिह्न भने आँखा रहनेछ । यो दल दुर्गा सोबको नाममा निर्वाचन

ईश्वर लक्षित बादलको टिप्पणी : उम्मेद्वारी घोषणाले विघटन र विसर्जनतिर लैजान्छ

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षमा निरन्तरता दिनुपर्ने बताएका छन् । शुक्रवार प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीले ओलीलाई नै निरन्तरता दिने निष्कर्षमा पुगेको बताएका हुन् । उनले मुलुकमा राष्ट्रिय स्वाधिनता, लोकतन्त्रको रक्षा र प्रतिक्रान्तिलाई परास्त गर्न पनि ओली नेतृत्वको विकल्प नभएको निष्कर्षमा पार्टी केन्द्रिय समिति पुगेको दाबी समेत गरे ।

ओलीका नीति, विचार र उनले हासिल गरेको उपलब्धिले पनि उनलाई नेतृत्वमा निरन्तरता दिन आवश्यक देखिएको उपाध्यक्ष थापाको जिकिर थियो । उपाध्यक्ष थापाले आम जनता, पार्टी कार्यकर्ता र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न पनि एमालेले उनलाई नेतृत्वमा निरन्तरता दिन आवश्यक रहेको बताए । उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति संकेत गर्दै अहिलेको अवस्थामा नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त नभएको समेत बताए ।

उपाध्यक्ष थापाले भने, ‘उहाँका योगदान, उहाँले लिएका नीतिहरु, अवलम्वन गर्नु भएको विचारहरु र उहाँले प्राप्त गर्नु भएको उपलब्धिहरुलाई हेर्दा अहिले पनि उहाँको आवश्यकता देशलाई छ, पार्टीलाई छ । अझ अहिलेको विशिष्ट स्थितिमा ठोस स्थितिमा लोकतन्त्रको स्थापनाको निम्ति उहाँको झन बढी आवश्यकता छ । देशको राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ति झन उहाँको बढी आवश्यकता छ ।’

उनले भने, ‘त्यो हिसावकितावले वर्तमान नेतृत्वलाई नै निरन्तरता दिनुपर्छ भन्ने निष्कर्षमा केन्द्रिय समिति पुगेको हो । यो नेतृत्वको सवालमा हाम्रो विधान महाधिवेशनमा पनि गम्भिर रुपमा छलफल चल्यो । भर्खरै बसेको केन्द्रिय समिति बैठकमा पनि लिडरसिपको सवालमा गम्भिर रुपमा बहस भएर उहाँको आवश्यकता अहिले पनि देशलाई छ । उहाँको नेतृत्वमा मात्रै नेकपा एमाले अगाडि बढ्नसक्छ । र देशलाई समृद्धिको दिशातिर अगाडि बढाउन सक्छ भन्ने कुराको निष्कर्षमा पुगेर यो निर्णय भयो ।’

कार्यक्रममा बोल्दै उनले भने, ‘त्यो कोणबाट पार्टीलाई एकतावद्ध गर्ने, पार्टीलाई सुदृढ गर्ने र यो प्रतिक्रान्तिलाई परास्त गर्नको निम्ति वर्तमान अध्यक्षको निरन्तरता आवश्यक छ भन्ने हो । त्यो हिसावकितावबाट यो कोणबाट अहिले जो नेतृत्व छ नेकपा एमालेको अध्यक्षलगायतको । अहिलेको ठोस परिस्थितिमा यो नेतृत्वलाई निरन्तरता दिनुपर्छ भन्ने हो अर्थमा । त्यसकारण पार्टीलाई एकतावद्ध गर्नको निम्ति पनि अहिलेको नेतृत्वलाई निरन्तरता दिनुपर्छ भन्ने यो हो । त्यसकारण यो महाधिवेशनको बारेमा पार्टी केन्द्रिय समितिको पनि यही निष्कर्ष हो । ’

उपाध्यक्ष बादलले भने, ‘हुन त अहिले विभिन्न कमरेडहरुले सार्वजनिक रुपमा विभिन्न उम्मेदवारीहरु घोषणा गरिरहनु भएको छ । केन्द्रिय समितिको निर्णयको कोणबाट हेर्दा यो ढंग जानु एमाले नेताहरुका लागि उपयुक्त होइन । यसले पार्टीलाई एकतावद्ध गर्दैन । यसले अझ विघटन र विर्सजनतिर लैजान्छ । अहिलेको सन्दर्भमा प्रतिस्पर्धाको नामबाट यो ढंगले जान हामी उपयुक्त हुँदैन । त्यसकारण एकतावद्ध नेतृत्व सहमतिका साथ अघि बढाउने केन्द्रिय समितिको पनि निर्णय भएको र आम जनताको पनि, कार्यकर्ताको पनि यो चाहना भएको हुनाले यही ढंगले जानुपर्छ भन्ने हाम्रो ठहर छ ।’ उपाध्यक्ष थापाले पदाधिकारी संख्या र केन्द्रिय समितिको आकार बढाउन आवश्यक देखिएको उल्लेख गर्दै त्यसका लागि विधानमा संशोधन गरेर अघि बढ्न आवश्यक रहेको समेत बताए ।

 

 

कारागारमा महिला प्रहरीसँग चिनजान, छुटेपछि उनकै हत्या गरेर फरार

काठमाडौं । व्यक्ति हत्यामा दोषी ठहरिर कारागार पुगेका व्यक्तिले छुटेपछि फेरि अर्को हत्या गरेका छन् । लमजुङमा गत चैतमा भएको पूर्व प्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सात महिनापछि पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले उक्त घटनामा पक्राउ पुर्जी जारी गरिएका चितवनको रत्ननगर नगरपालिका–६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो ।

उनले पूर्व प्रहरी हवल्दार ४५ वर्षीया सीता कँडेलको हत्या गरेको सीआईबीका प्रवक्ता तथा एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए । ३१ चैत २०८१ मा लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेको एक घरमा दुर्घन्ध आएको भन्दै प्रहरीमा खबर भएको थियो । बाहिरबाट ताला लागेको उक्त घरको ढोका प्रहरीले फोडेर हेर्दा भित्र महिलाको शव भेटिएको थियो ।

आफू सुत्ने बक्स पलङमुनि त्रिपालले बेरेर राखिएको अवस्थामा कँडेलको शव फेला परेको थियो । हत्या गरेर बक्स पलङमुनि लुकाएको पाइएपछि अनुसन्धानका लागि सीआईबीको टोली समेत परिचालन भएको थियो । सो क्रममा हत्यामा बुद्धिरामको संलग्नता खुलेको थियो । बुद्धिरामलाई सीआईबीले रुपन्देहीको नेपाल–भारत सीमा क्षेत्रबाट बिहीबार पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय लमजुङमा बुझाइएको छ । अनुसन्धानको क्रममा बुद्धिराम यसअघि पनि व्यक्ति हत्या गरेर जेल बसेको व्यक्ति रहेको खुलेको छ ।

यसअघि विवाहको विषयमा विवाद हुँदा गोरखाको साविक फिनाम गाविस–५ कि ५३ वर्षीया चिनीमाया पाण्डेको हत्या गरेका थिए । उनकी छोरी सम्झना पाण्डेसँग विवाहको कुरामा विवाद भएपछि आमाको हत्या बुद्धिरामले गरेका थिए । यो घटनामा उनी कारागार चलान भएका थिए । भीमफेदी कारागारमा रहँदा त्यहाँको सुरक्षामा खटिएका हवल्दार (हाल मृत) सीतासँग बुद्धिरामको चिनजान र निकट सम्बन्ध रहेको थियो । पछि जेलबाट छुटेपछि उनै बुद्धिरामले अवकाश भएकी पूर्व हवल्दार कँडेलको हत्या गरेको सीआईबीले जनाएको छ ।

 

 

जनकपुर–ढल्केबर सडक खण्डका तीन स्थानमा आकासे पुल बन्दै

धनुषा । मधेस–प्रदेश राजधानी जनकपुरधाम प्रवेश गर्ने मुख्य सडक मार्ग जनकपुर–ढल्केबर छ लेन सडक खण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदैछन् । पैदलयात्रुको अत्यधिक चाप, सवारी आवागमन, ट्राफिक व्यवस्थापनमा समस्या र दुर्घटनाका घटना नियन्त्रण गर्न परियोजना अघि बढाइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार तीनवटै पुल सडक खण्डका अत्यन्त व्यस्त र जोखिमयुक्त ठाँउ छनोट गरेर करिब रु १० करोड ५० लाखको लागतमा निर्माण भइरहेका छन् । कार्यालयका ई उज्जवल झाले लक्ष्मीनियाँ गाउँपालिको मुख्य बजार क्षेत्र लक्ष्मीनियाँ बजार, क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारको महिला विकास चोक र सखुवा चोकमा पुल निर्माण भइरहेका बताए ।

उनले भने, ‘एक महिनादेखि तीनै स्थानमा पिल्लर निर्माणलगायत आवश्यक आधारभूत संरचना बनाइरहेका छौँ । निर्धारित समय सीमाभित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ ।’ इञ्जिनियर झाका अनुसार तीन वटा पुलमध्ये लक्ष्मीनियाँ बजारमा रु तीन करोड ४२ लाख, महेन्द्रनगर बजारस्थित महिला विकास चोकमा रु तीन करोड ३५ लाख र सखुवा चोकमा रु तीन करोड ४५ लाख रुपैयाँमा बनिरहेका छन् । सबै पुल पाँच दशमलव छ मिटर उचाइ, २९ दशमलव चार मिटर लम्बाइ र तीन मिटर चौडाइका हुनेछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले आकासेपुल निर्माणपछि जनकपुर–ढल्केबर सडकखण्डमा ट्राफिक व्यवस्थापनमा केही सहज हुने बताए । उनका अनुसार यहाँ दैनिक हजारौँ पैदलयात्रु र सवारीसाधन आवतजावत गर्ने भएकाले दुर्घटनाको जोखिम उच्च आएको छ ।

क्षीरेश्वरनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश यादवले जनकपुरधाम जाने धार्मिक पर्यटक तथा स्थानीयको धेरै चाप रहने भएकाले पुल निर्माणपछि दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने बताए । स्थानीय रोहितराज खनालले आकासे पुल निर्माणपछि अत्यधिक व्यस्त रहने जनकपुर–ढल्केवर सडकखण्डमा ट्राफिक व्यवस्थापन र सहरी सौन्दर्यकरणमा मद्दत पुग्ने बताए । सडक डिभिजन कार्यालयले चालु आर्थिक वर्षभित्रै पुल निर्माण गरिसक्ने लक्ष्य लिएको छ । –रासस

एमालेमा ओलीको विकल्प छैन : बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले ११ औं महाधिवेशनमा नेतृत्व चयन गर्न प्रतिष्पर्धामा जान नहुने बताएका छन् । प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशनलाई एकताको बनाउनु पर्ने बताएका हुन् । उनले भने, ‘हामी एकताबद्ध भएर नेतृत्वको रक्षा गर्नुपर्छ, प्रतिगामी शक्तिहरूले नेतृत्वलाई सिद्ध्याउन चाहन्छन् । नेतृत्वको रक्षा गरेर मात्रै प्रतिक्रान्तिको षड्यन्त्र चिर्न सकिन्छ ।’ अध्यक्षले महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर जानुपर्ने सन्देश दिइसकेको बताए ।

विधानलाई संशोधन गरेर भए पनि नेतृत्व चयन सर्वसम्मत हुने उनले बताए । उनले भने, ‘वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले नयाँलाई अवसर दिनुपर्छ, नयाँ नेतृत्व आवश्यक छ भन्नु भएको छ । पार्टीलाई अगाडि बढाउन वर्तमान अध्यक्षको कार्यशैली उचित छैन । त्यसैले निकास दिनुपर्छ भन्ने उहाँको तर्क छ ।’

एमालेलाई वामपन्थी आन्दोलनको मूल धारको रूपमा स्थापित गर्न, लोकप्रिय पार्टी बनाउन ओलीको महत्वपूर्ण योगदान रहेको बताए । उनले अहिले पनि एमाले र देशलाई केपी ओलीको आवश्यकता रहेको जिकिर गरे । अहिलेको महाधिवेशनमा प्रतिष्पर्धामा जाँदा पार्टीलाई विघटन र विसर्जनतिर लाने उनको बुझाइ छ ।

भ्रष्टाचारविरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेनजी प्रतिनिधि

काठमाडौं । जेनजी प्रतिनिधिहरु जापानमा पाँच दिन सञ्चालन भएको वर्ल्ड एक्स्पोमा भ्रष्टाचार भएको भन्दै खबरदारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका छन् । शुक्रवार दिउँसो जेनजी युवा प्रतिनिधिहरू मन्त्रालय पुगेका हुन् । जनवरी २०२५ मा जापानमा पाँच दिन सञ्चालन भएको वर्ल्ड एक्स्पोमा भ्रष्टाचार भएको उनीहरुको आरोप छ । उनीहरूले आयोजनासँग सम्बन्धित निर्णय प्रक्रियामा सरकारी कर्मचारीले कर्तव्य छुटाएको र एकतर्फी ढंगले निर्णय लिइएको आरोप लगाएका छन् ।

जेनजीका प्रतिनिधि अविन गुरुङले एक्स्पोसँग सम्बन्धित अनियमितता भइसकेको सूचना पाएपछि सो प्रकरणबारे छानबिन माग गर्दै आफूहरू मन्त्रालय पुगेको बताए । गुरुङकाअनुसार विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिइसकिएको भए पनि सुनुवाई नहुँदा मन्त्रालयसँग स्पष्टीकरण माग्न बाध्य भएको बताए । उनले भने, ‘वर्ल्ड एक्स्पो जापानमा जुन भएको थियो आयोजना त्यहाँ चाहीँ भ्रष्टचार भएको भन्ने कुरा हामीले सुनिसकेपछि के रहेछ भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि निवेदन परिसकेको, ठाडो उजुरी पनि परिसकेको त्यहाँबाट पनि सुनुवाई नभएपछि यहाँ के रहेछ, किन रोकियो कहाँनेरबाट कमी कमजोरी भयो भनेर हामी मन्त्रीको सचिव ज्युहरुलाई भेट्न आएको आज खास आज चाहीँ ।’

अर्का जेन–जी प्रतिनिधि अमर सापकोटाले सरकारी कर्मचारीले गैरजिम्मेवारीपूर्वक एकतर्फी निर्णय लिएपछि आफूहरूले निरन्तर पत्राचार, ठाडो उजुरी र पूरक उजुरी दिएपनि कुनै निष्कर्ष ननिस्किएको बताए । दुवै पक्षलाई बोलाएर मात्रै छानविन हुनुपर्नेमा त्यसो हुन नसक्नु गम्भीर भएको उनले टिप्पणी गरे । उनले भने, ‘हाल एक्स्पो २०२५ मा चाहीँ सरकारी कर्मचारीबाट आफ्नो कर्तव्य पूरा नगरी गैरजिम्मेवार हिसावले एक्लौटी पक्षको हिसावमा मात्र निर्णय गरेको कारणले बारम्बार पत्रचार तपाईलाई सिआईबीमा जाँदा पनि, अनुसन्धान ब्युरोमा ठाडो उजुरी, पूरक उजुरी सबै दिँदा पनि अहिलेसम्म निष्कर्ष नआएर दुवै समूहलाई नबोलाई निष्कर्ष नगरेको कारणले हामी यहाँ आज मन्त्री ज्युसँग भेट्न आएका थियौं ।’ एक्स्पोमा देशको गौरवमा आँच आउने गरी प्रस्तुत भएको उनको आरोप छ ।

जेन–जी आन्दोलन प्रतिक्रान्ति हो : बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले जेन–जी आन्दोलन क्रान्ति नभई प्रतिक्रान्ति भएको बताएका छन् । प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै बादलले जनताद्वारा जनताको निम्ति जेन–जी आन्दोलन नभएको बताए । उनले भने, ‘जनताको हातबाट प्रतिगामी शक्तिहरूको हातमा राजनीतिक सत्ता जानु प्रतिक्रान्ति हो । यो परिघटनालाई हेर्दा दुई तिहाइ जनमत भएको निर्वाचित सरकारलाई बलपूर्वक अपदस्थ गरियो । एमाले नेतृत्वको सरकारलाई संविधानको धारा मिचेर बलपूर्वक हटाइयो, यो क्रान्ति थिएन । नागरिकहरूको हातबाट गैरनागरिकको हातमा सत्ता गएको छ ।’

उनले आफूहरूले राजाको हातबाट जनताको हातमा सत्ता ल्याउनको लागि ०६२/६३ को आन्दोलन गरेको स्मरण गरे । प्रतिक्रान्तिलाई स्थापित गर्नको लागि अहिले राजनीतिक दलको नेतृत्व फेर्ने प्रयास भइरहेको बादलले आरोप लगाए । उनले भने, ‘लोकतन्त्र स्थापना गर्न लागेका सबै राजनीतिक दलहरूको नेतृत्व विस्थापित गरेर प्रतिक्रान्तिलाई स्थापित गर्ने षड्यन्त्र अहिले भइरहेको छ । राजनीतिक दलका शीर्ष नेताहरूलाई सिध्याएर मात्रै प्रतिक्रान्तिलाई वैधानिकता दिने प्रयास हुँदैन ।’ निर्वाचनबाट जेलेन्सकीहरूको सरकार बनाउने प्रयास भइरहेको पनि बताएका छन् । अहिलेको समस्याको निकास संसद् पुनस्र्थापना नभएको बादलको भनाइ छ ।

 

 

देशकै नेतृत्व गर्ने सोंचमा छु : मन्त्री घिसिङ

रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले समग्र देशलाई नै उज्यालो बनाउन आफू मुलुककै नेतृत्वमा आउन खोजेको बताएका छन् । ऊर्जा क्षेत्रमा आफूले देशलाई उज्यालो बनाएको दावी गर्दे उनले अब मुलुकको नेतृत्व गरेर सिङ्गो देशलाई नै उज्यालो बनाउन चाहेको बताएका हुन् । सुनापती गाउँपालिकामा सुनापती आधारभूत अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री घिसिङले देशलाई उज्यालो बनाउने आफ्नो अभियानमा सहयोग गर्न आग्रह गरे । घिसिङले केही दिनअघि मात्रै उज्यालो नेपाल पार्टी घोषणा गरेका छन् ।

मन्त्री घिसिङले नागरिकहरूलाई अहिलेको सरकारबाट धेरै आशा नराख्न सुझाव दिँदै आगामी फागुन २१ गते हुने निर्वाचनमा जिम्मेवार निर्णय गर्न आग्रह गरे । उनले सो निर्वाचनमा आफ्नो पार्टीलाई देशभरिबाट जिताएर आफूलाई देशको नेतृत्वमा पुर्‍याउन आग्रह गरे । आगामी सरकारबाट धेरै काम गर्नुपर्ने भएकोले आगामी सरकारको नेतृत्व दिन सक्ने व्यक्ति आफू भएको उनको दाबी छ । परिवर्तनलाई संस्थागत गर्न चुनाव गर्न आवश्यक रहेको बताउँदै उनले त्यसको लागि आफू जस्ता व्यक्ति चुनिन आवश्यक रहेको बताए ।

आफूले सरकारी कर्मचारी भएर राम्रो काम गरेको भन्दै घिसिङले अब देशको नेतृत्व गर्न आवश्यक रहेको बताए । ‘आगामी दिनमा यो देशको नेतृत्व पनि गर्नुपर्छ भन्ने मलाई लागेको छ, त्यसको लागि तपाईहरूको साथ सहयोग आवश्यक छ, सम्पूर्ण क्षेत्रलाई उज्यालो बनाउन देशको नेतृत्व गर्न आवश्यक छ भन्ने लागेको छ, यसको लागि साथ सहयोग गर्न म तपाईहरूलाई आग्रह गर्दछु’, उनले भने ।

उनले रोजगारी, सुशासन र नागरिक हितको लागि काम गर्न देशभरिबाट योग्य मानिसलाई चुन्न घिसिङले आग्रह गरे । सुनापती गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य युवराज चौलागाई, जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमसागर थापा, गाउँपालिका उपाध्यक्ष गीता विष्ट चौलागाईँ, निवर्तमान गाउँपालिका अध्यक्ष धावा लामा, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायत सहभागी थिए । २०७७ साल मंसिर १५ गते शिलान्यास गरिएको सो अस्पताल भवनबाट एक वर्ष अघिदेखि सेवा प्रदान गर्दै आएको भए पनि मन्त्री घिसिङले अस्पताल सञ्चालनमा आएको एक वर्ष पछि उद्घाटन गरेका हुन् । कुल ७ करोड ९० लाख ७५ हजार २ सय ८८ रुपैँयाको लागतमा निर्माण भएको अस्पताल बिएनबिआरएनसिएफ जेभिले निर्माण गरेको हो ।

सरकारले माटो व्यवस्थापनलाई प्राथमिकता दिएको छ : मन्त्री परियार

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले सरकारले माटो व्यवस्थापन कार्यलाई प्राथमिकतामा राखेको बताएका छन् । १२ औं विश्व माटो दिवसको अवसर पारेर शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन् ।

मन्त्री परियारले माटो तथा मल परीक्षणका लागि केन्द्रिय कृषि प्रयोगशालाले किसानहरुलाई सेवा प्रदान गर्दै आएको समेत बताए । उनले देशभर माटो परीक्षण गरी डिजिटल माटो नक्शालाई अध्यावधिक गर्ने काम पनि भईरहेको बताए । सरकारले माटो परीक्षण, सन्तुलित मलको प्रयोगका लागि प्राविधिक तथा किसानको क्षमता अभिवृद्धि जस्ता कामहरु गर्दै आएको मन्त्री परियारको जिकिर थियो ।

उनले भने, ‘माटो व्यवस्थापन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्राथमिकतामा रहँदै आएको छ । माटो तथा मल परीक्षणका लागि कृषि विभाग अन्तर्गत केन्द्रिय कृषि प्रयोगशालाबाट प्रयोगशाला सेवा प्रदान हुँदै आएको छ । कृषि विभाग, केन्द्रिय कृषि प्रयोगशाला, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र तथा प्रदेश सरकार मातहतका प्रयोगशालाहरुको समन्वयमा देशभर माटो परीक्षण गरी डिजिटल माटो नक्शालाई अध्याबधिक गर्ने कार्य भईरहेको छ । यसबाट कृषकहरुले आफ्नो जमिनको माटोको खाद्यतत्वको अवस्थाको जानकारी लिई सो बमोजिम सन्तुलित मलखाद्य उपयोग गर्नसक्नु हुनेछ । साथै माटो परीक्षण, सन्तुलित मलखाद्य प्रयोग सम्बन्धमा प्राविधिक तथा किसानको क्षमता अभिवृद्धि एवं रसायनिक एवं प्राङ्गारिक मल व्यवस्थापन सम्बन्धि कार्यहरु नियमित हुँदै आएको छ ।’ मन्त्री परियारले रसायनिक एवं प्राङ्गारिक मल व्यवस्थापनका लागि पनि सरकारले ठोस योजनाका साथ काम गरिरहेको बताए ।

 

नागरिक अगुवाको साझा अपिल : सरकारको काममा अवरोध नगरौं

काठमाडौं । मुलुक जेन–जी आन्दोलनपछि संवेदनशील मोडमा पुगेको मूल्यांकन गर्दै नागरिक समाजका विभिन्न धारका अगुवाहरूले वर्तमान सरकारलाई अवरोध नगरी देशलाई स्थिरतामा फर्काउने प्रक्रियामा सबै जिम्मेवार पक्ष सहयोगी बन्नुपर्ने आग्रह गरेका छन् । दुई फरक संयुक्त अपिलमार्फत करिब २७ जना नागरिक अगुवाले सरकारलाई क्षमताभन्दा बाहिरका माग र निहित उद्देश्यका दबाबमार्फत कमजोर नबनाउन चेतावनी दिएका छन् ।

अपिलमा सरकार निर्वाचनको जनादेश लिएर बनेको स्पष्ट गर्दै यो अवस्थामा समूहगत, व्यक्तिगत वा राजनीतिक स्वार्थसिद्धिका एजेण्डा अघि सारेर सरकारमाथि अतिरिक्त दबाब सिर्जना गर्नु राष्ट्रहित विपरीत हुने उल्लेख छ । उनीहरूले यस्तो गतिविधिले अनावश्यक भ्रम र आशंका मात्र बढाई राज्य संरचनालाई थप कमजोर बनाउने दाबी गरेका छन् । नागरिक अगुवाहरूले विशेष गरी आगामी २०८२ फागुन २१ गते तोकिएको आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु वर्तमान सरकार र सरोकारवालाको प्रमुख दायित्व भएको बताएका छन् । ‘यदि निर्धारित मितिमा निर्वाचन हुन सकेन भने सिर्जना हुने राजनीतिक रिक्तता र अनिश्चितताले देशलाई गम्भीर संकटमा धकेल्न सक्छ,’ अपिलमा उल्लेख गरिएको छ।

अगुवाहरूले भ्रष्टाचार, नातावाद, कृपावाद र कुशासनजस्ता जेन–जी आन्दोलनले उठाएका मूल मुद्दाको सम्बोधन गर्दै देशलाई असल शासनतर्फ डोहो¥याउन सरकार, राजनीतिक दल, नागरिक समाज र नवयुवाहरू सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । उनीहरूको भनाइमा संवैधानिक प्रक्रिया जोगाउने एकमात्र मार्ग स्वच्छ, निष्पक्ष र विश्वासिलो निर्वाचन हो । यस्तै, सरकारले निर्वाचनको वातावरण बिग्रन नदिन प्राथमिकता दिनुपर्ने र निर्वाचन आयोगले निर्विघ्न रुपमा प्रक्रिया अघि बढाउने वातावरण सुनिश्चित गर्नुपर्ने सुझावसमेत अपिलमा समावेश छ ।

अपिलका हस्ताक्षरकर्तामा केदारभक्त माथेमा, अर्चना थापा, इन्द्र-इन्द्रा अधिकारी, उद्धव प्याकुरेल, कनकमणि दीक्षित, कृष्ण खनाल, कृष्ण पोखरेल, खगेन्द्र संग्रौला, गजाधर सुनार, गेजा शर्मा वाग्ले, चन्द्रकिशोर, चरण प्रसाई, जेबी विश्वकर्मा, तुलानारायण साह, दीपेन्द्र झा, दोभान राई, भोजराज पोखरेल, प्रदीप खतिवडा, महेश मास्के, राजेन्द्र दाहाल, स्टेला तामाङ, सूर्य ढुंगेल, सुवोधराज प्याकुरेल, सुशील प्याकुरेल, हरि शर्मा, विजयकान्त कर्ण, विजय तिमिल्सिना, विद्याधर मल्लिक र वीरेन्द्रप्रसाद मिश्र लगायत छन् । उनीहरूले सबै राजनीतिक शक्ति, जेन–जी, सञ्चार माध्यम, पेसागत समूह र आम नागरिकसमक्ष स्थिरता, शान्ति र संविधानको निरन्तरताका लागि आगामी निर्वाचनमा सहयोगी भूमिका खेल्न एकै स्वरमा अपिल गरेका छन् ।

 

राजा, राजनीतिक दल र जेनजीबीच त्रिपक्षीय सम्झौता गरियोस् : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र (ज्ञानबहादुर) शाहीले नेपालमा संवैधानिक राजसंस्था जरुरी रहेको बताएका छन् । आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै प्रवक्ता शाहीले नेपालमा प्रदेश संरचना खारेज गर्न, हिन्दु, बुद्ध, किराँतसहितको हिन्दु अधिराज्य बनाउन, संवैधानिक राजसंस्था कायम गर्न र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने मागका लागि आफूहरुले आन्दोलन गर्न लागेको जानकारी गराएका छन् ।

उनले जापान, बेलायत, नेदरल्याण्ड, अष्ट्रेलियाको जस्तो र क्यानडाको जस्तो राजसंस्था नेपालमा आवश्यक रहेको बताएका छन् । राष्ट्रपतिको ठाउँमा संवैधानिक राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैरदलीय र भ्रष्टाचारीलाई आजीवन कारावास गर्नुपर्ने माग गरे । जेनजी हत्यारालाई पक्राउ गरेर कारावासको सजाय दिनुपर्ने माग समेत गरे । जेनजी युवाहरुले सडकमा युद्ध जिते पनि सम्झौतामा हारेको उनको भनाइ छ ।

उनले भने, ‘अब २३ गतेको आन्दोलनलाई मध्यनजर गरेर स्पष्टसँग छातीमा हात राखेर प्रदेश संरचना खारेज गर्ने मान्छे, हिन्दु, बुद्ध, किराँतसहितको हिन्दु अधिराज्य मन पराउने मान्छे, यो देशमा राष्ट्रपति चाहिएन, संवैधानिक राजसंस्था चाहिन्छ, साइकल चढ्ने राजाको आवश्यकता छ । जापान, बेलायत, नेदरल्याण्ड, अष्ट्रेलियाको जस्तो र क्यानडाको जस्तो राजसंस्था चाहिन्छ ।’

उनले भने, ‘राष्ट्रपतिको ठाउँमा संवैधानिक राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैरदलीय र भ्रष्टाचारीलाई आजीवन कारावास गर्नुपर्छ । जेन–जी हत्यारालाई पक्राउ गरेर जेल हाल्नुपर्छ । २३ गते सबैलाई भनेका छौँ, आयोजक राप्रपा हो तर राप्रपाका मान्छे मात्रै हुँदैनौँ, राष्ट्रिय झण्डामा एकजुट भएर उपस्थित हुनुहोला । जेन–जी युवाहरुले सडकमा युद्ध जिते, सम्झौतामा युद्ध हारे ।’ उनले देशको संविधान, कानून र ऐनमा कतै न कतै खराब रहेको बताए । राजा, जेन–जी र राजनीतिक दलहरुले त्रिपक्षीय सम्झौता गर्न आह्वान गरे । माग पूरा नभए सडक आन्दोलन शुरु हुने चेतावनी दिए । २३ गतेको प्रदर्शनमा घर–घरबाट उपस्थित हुन आह्वान गरे ।

विद्यार्थीहरु घरमै पुगेर गरे ज्येष्ठ नागरिकको सम्मान

दाङ । दाङको तुलसीपुर–८ दुधेनास्थित ‘हाम्रो शान्तिदीप इङलिस स्कुल’ का विद्यार्थीहरुले ज्येष्ठ नागरिकलाई घरैमा गएर सम्मान गरेका छन् । विद्यालयका कक्षा–७ का विद्यार्थीहरुले स्थानीय ज्येष्ठ नागरिक ८६ बर्षीया जेजी सापकोटा र ८४ वर्षीय भुवनेश्वर उपाध्याय दाहालको घरैमा गएर दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

विद्यालयको अगुवाइमा भएको ‘ज्येष्ठ नागरिक सम्मान’ कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले उहाँको घरमैमा पुगेर सम्मान गर्नुका साथै जीवन संघर्षका कथा र प्रेरणादायी सन्देशहरु सुन्ने अवसर पाएका हुन् । बालबालिकाहरुमा समुदायका ज्येष्ठ नागरिकप्रति सम्मान, आदर र कदर गर्ने सँस्कार जागृत गराउन कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । पछिल्लो समय बढ्दो आधुनिकता र सामाजिक सञ्जालको प्रयोगले बालबालिका र ज्येष्ठ नागरिकबीचको सम्बन्धमा दूरी पैदा भएको छ ।

अख्तियार प्रमुखसहितलाई ज्यान मार्ने धम्की दिने केहि व्यक्ति पक्राउ

काठमाडौं । ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ को नामबाट देशका १० जना उच्च पदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की पठाएपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । प्रहरीले सो धम्कीपछि केहि व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको उच्च प्रहरी स्रोतले जनाएको छ । प्रकाश पाठक नाम गरेका व्यक्तिले आफू उक्त समूहको अध्यक्ष भएको दाबी गर्दै केही दिनअघि इमेलमार्फत प्रमुख आयुक्त प्रेमकुमार राई, तत्कालीन मन्त्रीहरू आरजु राणा, रमेश लेखक, पूर्वमन्त्री बालकृष्ण खाँणसहित १० जनालाई प्राणघातक धम्की पठाएको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन् । धम्की पत्रमा उनीहरूले भ्रष्टाचार र अस्थिर शासनलाई कारण देखाउँदै लक्षित व्यक्तिहरूको हत्या गर्ने निर्णय गरेको उल्लेख छ ।

पत्रमा पाठकले लक्षित व्यक्तिहरूलाई १० दिनभित्र राजीनामा दिन चेतावनी दिएका छन् । भदौ २४ गते कारागारबाट फरार भएका केही कैदीबन्दीलाई साथमा लिएर आक्रमण गर्ने योजना रहेको दाबी समेत गरिएको छ । जिम्मेवारी भने आफूले लिने उल्लेख गरिएको छ । काभ्रे घर बताउने पाठकले अहिले भारतमा रहेको दाबी गर्दै आएका छन् । उनले सामाजिक सञ्जालमार्फत भिडियो प्रकाशित गर्दै आफूलाई समूहको अध्यक्ष बताउँदै १० जनामाथि आक्रमण गर्ने योजना सुनाएका छन् । भिडियोमा उनले नेपाल प्रहरी आफूमाथि कडा चासोका साथ खोजी गरिरहेको दाबी गर्दै प्रहरीका विभिन्न निकायले आफ्ना सहयोगीलाई पक्राउ गरिरहेको आरोप लगाएका छन् ।

उनका अनुसार भारतीय विभिन्न सहरमा लुकेर बसेका स्थानहरूमा नेपाली सुराकीका आधारमा प्रहरी पुगिरहेको पनि उनले बताए । आफू लगातार बसोबास परिवर्तन गर्न बाध्य भएकाले पक्राउ गर्न नसक्ने उनको दाबी छ । उनले अख्तियार प्रमुख राईलाई लक्षित गर्दै धम्कीपूर्ण अभिव्यक्ति समेत दिएका छन् । उक्त घटनालाई गम्भीररूपमा लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) सहित अन्य इन्टिलिजेन्स यूनिटहरूले पाठक र उनको समूहबारे विस्तृत खोजी गरिरहेका छन् । समूह कति संगठित र ठूलो छ भन्नेबारे प्रहरीले अझै सार्वजनिक जानकारी दिएको छैन ।
धम्कीपछिका गतिविधि, मानिसहरूलाई नियन्त्रणमा लिएर भइरहेको अनुसन्धान र डिजिटल प्रमाण संकलनका आधारमा प्रहरीले घटनालाई आतंककारी प्रकृतिको सम्भावना राखेर अघि बढाइरहेको बताइएको छ ।

झापा जिल्लाको ऐतिहासिक एवम् धार्मिक स्थल किचक बध (तस्बिरहरु)

काठमाडौँ । झापा जिल्ला भद्रपुर नगरपालिकामा रहेको ऐतिहासिक एवम् धार्मिक स्थल हो, किचक बध । महाभारतमा उल्लेख भए अनुसार पाँच पाण्डवहरू विराट राजाको दरबारमा गुप्तबास बसेको बेला भिमसेनले यहीँ स्थानमा किचक राक्षसको बध गरेका थिए।

सदरमुकाम चन्द्रगढीबाट करिब १० किलोमिटर दक्षिणमा देवनीया र मेची नदीको किनारमा अवस्थित यो क्षेत्रमा थुप्रै पुरातात्विक वस्तुहरू रहेका छन्। यहाँ एउटा षट्कोणको आकारमा पोखरी निर्माण भएको छ। जसको छेउबाट देवनीया नदी बगेको छ।

किचक बध क्षेत्र करिब १० बिगाहा क्षेत्रफलमा फैलिएको छ। यस क्षेत्रमा पुरातत्व विभागले विभिन्न चरणमा उत्खनन समेत गरेको छ। यसरी उत्खनन गर्दा विभिन्न पुरात्वातिक संरचना तथा सामग्रीहरू समेत भेटिएको छ । उत्खनन गरिएका अन्य स्थानहरू पुनस् सुरक्षित रूपमा छोपिए पनि दुई स्थानहरू भने बाहिरबाट हेर्न मिल्ने गरी राखिएको छ।

यस क्षेत्रमा पुरातात्विक उत्खनन गर्दा ८ कोठा भएको भवनको भग्नावशेष फेला परेको थियो। अहिले यो क्षेत्र धार्मिक लगायत बिदा मनाउन र वनभोजका लागि आउनेहरुका लागि राम्रो गन्तव्य बनेको छ।

 

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्ने बित्तिकै सबै गर्न सकिँदैन : मन्त्री गुप्ता

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नेपाल आर्थिक हिसावले कमजोर रहेकाले भएका श्रोत, साधनको सही उपयोग गरेर अघि बढ्नु पर्ने बताएका छन्। शुक्रवार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित सडक दुर्घटना न्युनिकरण सचेतना स्वयंसेवक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सडकमा ट्राफिक लाइट जडान गर्ने, सडकलाई अझ सुरक्षित बनाउने, प्रहरीका भौतिक संरचना बढाउने विषयमा आर्थिक अवस्था कमजोर भएकाले भनेकै समयमा सबै कुरा गर्न नसकिने स्पष्ट पारे । तर भएका श्रोत र साधनको प्रयोग गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । ट्राफिक नियम आफ्नो जीवन र व्यवहारमा कार्यान्वयन गर्न पनि आग्रह गरे । उनले ट्राफिकप्रति हेर्ने दृष्टिकोण र ट्राफिकले चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए ।

उनले भने, ‘ट्राफिक नियम आफ्नो जीवन र व्यवहारमा कार्यान्वयन गरौँ । त्यसलाई अपनाउन नसके यस्ता कार्यक्रमको कुनै अर्थ रहँदैन । यसको अर्थ र गरिमा राखिदिन आफ्नो जीवनमा कार्यान्वयन गरिदिन अनुरोध गर्न चाहन्छु । हामीले ट्राफिकप्रति हेर्ने दृष्टिकोण र ट्राफिकले चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ । सकारात्मकता नहुने हो भने यि कुराहरु कार्यान्वयन हुँदैनन् । एक अर्काप्रति विश्वास र सकारात्मकता आउनु जरुरी छ । सरकारले गर्नुपर्ने कार्यहरु हामी गर्नेछौँ । नेपाल सरकार आर्थिक रुपमा कमजोर रहेको देश नै हो । त्यसैले चाहेको बेलामा सबैकुरा गर्न सकिरहेका छैनौँ । भएका श्रोत साधनबाट हामी चल्नुपर्छ ।’ मन्त्री गुप्ताले सकारात्मक रुपमा अघि बढ्नसके सबै काम सफल बन्दै जाने बताए ।

 

आयोगले तोक्यो समानुपातिकमा उम्मेदवारको बन्द सूची पेस गर्ने समय सीमा

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरूलाई समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने समय तोकेको छ । आयोगले मंसिर २१ गतेदेखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले निवेदन पेस गर्ने भनेको हो । आयोगले कार्यालय समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय, बहादुर भवन, कान्तिपथ, काठमाडौँमा निवेदन सार्वजनिक सूचनामार्फत भनेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–२ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने आयोगले भनेको छ । राजनीतिक दलले निवेदन दिँदा सम्बन्धित दलको केन्द्रीय समितिले निर्णय गरी अधिकार प्रदान गरेको पदाधिकारीले हस्ताक्षर गरिदिनुपर्ने भएको आयोगले जनाएको छ । उम्मेदवारको बन्द सूची पेस नगर्ने राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ दल दर्ता गर्न आवश्यक नपर्ने आयोगले जनाएको छ ।

स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दुई पटक विज्ञापन, परेनन् आवेदन

कैलाली । देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा स्थापना हुन लागेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले उपकुलपति नियुक्तिका लागि दुई पटक विज्ञापन गरे पनि कुनै आवेदन प्राप्त नभएको विश्वविद्यालय सञ्चालन प्रक्रियालाई चुनौती बनेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिंदै उपकुलपति पदका लागि आवश्यक योग्यता पुगेका व्यक्तिबाट आवेदन नआएको जनाएका हुन् ।

उनका अनुसार स्वास्थ्य सेवामा कम्तीमा १० वर्ष प्राध्यापक (प्रा.डा.) तहमा कार्यअनुभव रहेको इच्छुक नियुक्त गर्न दुई पटक सार्वजनिक सूचना निकालिए पनि एक जनाले पनि आवेदन नदिँदा पद खाली नै रहेको छ । मन्त्री पुनले योग्य तथा इच्छुक व्यक्तिहरूलाई विश्वविद्यालयको नेतृत्व सम्हाल्न पुनः आह्वान गर्दै मातृभूमिका लागि योगदान दिने भावना बोकेका स्वास्थ्य क्षेत्रका अनुभवी व्यक्तिहरूलाई अघि आउन आग्रह गरेका छन् । उनले आवश्यकता परे आफूलाई प्रत्यक्ष सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

यसअघि २०७३ सालमै करिब ८ अर्ब ११ करोड लागत अनुमानसहित कैलालीको गेटामा मेडिकल कलेज निर्माण थालिएको थियो । भव्य पूर्वाधार तयार भए पनि लामो समय प्रयोगविहीन बनेपछि सरकारले ती संरचनालाई स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि उपयोग गर्ने निर्णय गरेको हो ।

गत जेठमा सम्बन्धित विधेयक संघीय संसद्बाट पारित भइसकेको छ भने आर्थिक वर्ष २०८२/८३ को बजेटमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने स्पष्ट उल्लेख गरिएको छ । तर उपकुलपति नखोजिएको अवस्थाले विश्वविद्यालय प्रारम्भिक चरणमै नेतृत्व अभावको चुनौतीमा परिरहेको देखिन्छ । शिक्षा मन्त्रालयले उपकुलपतिका लागि गत कात्तिक १६ गते पहिलो र मंसिर ५ गतेसम्मका लागि दोस्रोपटक आवेदन माग गरेको थियो ।

मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्ने आज अन्तिम दिन, छलफलमा दलहरु

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया निर्णायक मोडमा पुगेको छ । एमाले बाहेकका सात दल गठबन्धनबद्ध भएर आजै नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न तयारी अवस्थामा छन् । प्रदेश प्रमुखले तोकेको समयसीमा अनुसार आज साँझ ५ बजेसम्म दाबी पेश गर्नुपर्ने भएकाले दलहरू बिहानैदेखि अन्तिम छलफल र समन्वयमा व्यस्त छन् ।

गत कात्तिक २४ गते शपथ लिएर विवादमा तानिएका तत्कालीन मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले सर्वोच्च अदालतको आदेशअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन नसकेपछि मंसिर १७ मा राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनसहित बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई दाबी पेश गर्न आह्वान गरेका हुन् ।

सात दलीय गठबन्धन—नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा नेपाल, जनमत पार्टी, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी—ले नयाँ सरकार बनाउने सहमति गरेका छन्। १०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि आवश्यक ५४ भन्दा धेरै ७३ जना सांसद उनीहरूका पक्षमा छन्, जसले सरकार गठनको प्रक्रिया सहज बनाएको छ ।

गठबन्धनभित्र मुख्यमन्त्रीका लागि मुख्य दाबेदारमा लोसपाका जितेन्द्र सोनल र नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव रहेका छन् । यद्यपि नेताहरूबीच बिहीबार झण्डै आठ घण्टासम्म चलेको छलफलमा नाम टुंगो नलागेपछि आज पुनः बसेर अन्तिम निर्णय गर्ने सहमति भएको एक सांसदले जानकारी दिए । जसपाका संसदीय दलका नेता सरोजकुमार यादवले भने गठबन्धनले साझा सहमति कायम गरिसकेको बताउँदै आज दिउँसो २ बजे नै दाबी पेस हुने दाबी गरेका छन्।

उनका अनुसार मुख्यमन्त्रीसँगै सबै दलका मन्त्रीहरूले एकैपटक शपथ लिने तयारी छ । यसैबीच एमालेका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि सभामुख पद पनि रिक्त छ, जसमा जसपाले दाबी गर्ने संकेत देखिएको छ । नयाँ सरकार, नयाँ शक्ति सन्तुलन र प्रदेश सभाको नेतृत्व कसरी बन्छ भन्ने प्रश्नमा प्रदेशभर राजनीतिक सरगर्मी तीव्र बनेको छ ।

राष्ट्र बैंकमा अधिकृतदेखि सहायकसम्म ७६ जनाका लागि खुल्यो जागिर (विज्ञापनसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७६ जनाका लागि जागिर खुलाएको छ । आज (शुक्रबार) विज्ञापन जारी गर्दै राष्ट्र बैंकले तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणीमा सहायकसम्म ७६ जना कर्मचारी परिपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

राष्ट्र बैंकले तृतीय श्रेणीमा अर्थशास्त्रतर्फ १ जना, व्यवस्थापक तर्फ एक जना, प्रशासनतर्फ ३९ जना, लेखातर्फ १० जना, वाणिज्य कानुनतर्फ ४ जना सहायक निर्देशक मागेको छ । त्यस्तै द्वितीय श्रेणीतर्फ २१ जना प्रशासन सहायक माग गर्दै आवेदन आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका नेपालीहरूले शुक्रबारदेखि पुस १० गतेसम्म अनलाइनमार्फत दरखास्त फाराम बुझाउन सक्ने छन् । दोब्बर दस्तुर तिरेर पुस १७ गतेसम्म फाराम भर्न सकिनेछ ।

परीक्षा दस्तुर तृतीय श्रेणीका लागि कुनै एक समूहका लागि १ हजार रूपैयाँ र समावेशी समूहबाट पनि आवेदन दिँदा प्रत्येकको थप ४०० रूपैयाँ तोकिएको छ । सहायक द्वितीय श्रेणीका लागि ८०० रूपैयाँ र समावेशी समूहका लागि थप ३०० रूपैयाँ तोकिएको छ ।

हेर्नुस् विज्ञापन

प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज (शुक्रबार) सर्वदलीय बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले शुक्रबार दिउँसो ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरुलाई आमन्त्रण गरिएको छ ।

प्रधानमन्त्री कार्कीले सो बैठकमा जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि बोलाएकी छन् । आगामी फागुन २१ गतेको निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकावाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत साना तथा मधेश केन्द्रित दलले निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाएका छन् ।