`

सेन्सर विवादपछि ‘बटवारा १९४७’ शुक्रवार साँझदेखि नेपालमा प्रदर्शन

काठमाडौं । राजकुमार सन्तोषी निर्देशित भारतीय फिल्म ‘बटवारा १९४७’ नेपालमा शुक्रबार साँझदेखि प्रदर्शनमा आउने भएको छ।

केन्द्रीय चलचित्र जाँच समितिले बिहीबार केही दृश्य हटाएर प्रदर्शनका लागि अनुमति दिएपछि फिल्मको रिलिजलाई लिएर विवाद उत्पन्न भएको थियो।

समितिले हटाउन भनेका दृश्य काट्न नसकिने भन्दै नेपाल वितरक ब्यांकटेस इन्टरटेनमेन्टका प्रमुख मनोज राठीले प्रतिक्रिया दिएपछि शुक्रबार बिहानदेखि फिल्म प्रदर्शनमा आउन सकेको थिएन। त्यसपछि फिल्मको नेपाल प्रदर्शन अनिश्चित बनेको थियो।

तर पछिल्लो सहमतिपछि फिल्म नेपालका हलमा शुक्रबार साँझदेखि प्रदर्शनमा आउने भएको राठीले बताएका छन्। उनका अनुसार फिल्मलाई कुनै दृश्य काटछाँट नगरी प्रदर्शनमा ल्याइनेछ।

यद्यपि सेन्सर समितिका सदस्य मनोज पण्डितले भने समितिले फिल्मका केही दृश्य हटाउन स्पष्ट निर्देशनसहित प्रदर्शनको अनुमति दिएको बताएका छन्। उनका अनुसार समितिले हटाउनुपर्ने दृश्यहरू लिखित रूपमा उल्लेख गरेर वितरकलाई उपलब्ध गराएको थियो।

‘हामीले स्पष्ट लेखेर यो–यो दृश्य हटाउने भनेर दिएका छौँ। अन्य कुरा थाहा भएन,’ पण्डितले भने।

फिल्मको प्रदर्शनलाई लिएर वितरक र सेन्सर समितिको भनाइ भने फरक देखिएको छ। वितरकले कुनै दृश्य नहटाई फिल्म प्रदर्शनमा ल्याउने बताएका छन् भने समितिले भने आफूले निश्चित दृश्य हटाउने सर्तसहित प्रदर्शन अनुमति दिएको दाबी गरेको छ।

‘बटवारा १९४७’ भारत विभाजनको पृष्ठभूमिमा निर्माण भएको फिल्म हो। फिल्मले विभाजनका क्रममा सर्वसाधारणले भोग्नुपरेको पीडा, विस्थापन, आघात र कठिन परिस्थितिको कथा प्रस्तुत गर्छ।

फिल्ममा सनी देओल, प्रीति जिन्टा, शबाना आजमी, करण देओल, अली फजल र अभिमन्यु सिंहलगायत कलाकारको मुख्य भूमिका रहेको छ।

लामो समयपछि अभिनेत्री प्रीति जिन्टा यसै फिल्ममार्फत ठूलो पर्दामा फर्किएकी छन्। फिल्मलाई लिएर भारतमा समेत विभाजनको ऐतिहासिक घटनालाई प्रस्तुत गरिएको विषयले चर्चा पाएको छ।

नेपालमा भने सेन्सर प्रक्रिया र दृश्य हटाउने विषयमा विवाद भएपछि निर्धारित समयभन्दा ढिला प्रदर्शनमा आउन लागेको हो।

पछिल्लो निर्णयसँगै शुक्रबार साँझबाट फिल्म नियमित प्रदर्शनमा आउने वितरकले जनाएको छ।

देउवा फर्किएलगत्तै भेट्न पुगेका शशांक र शेखर

काठमाडौं। करिब पाँच महिना विदेशमा बसेर बिहीबार स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल फर्किएको भोलिपल्टै पार्टीको आन्तरिक राजनीतिमा सक्रिय देखिएका छन्।

उनले शुक्रबार बिहान कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला र नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन्।

देउवालाई भेट्न कोइराला परिवारका प्रभावशाली दुई नेता महाराजगञ्जस्थित उनको निवास पुगेका थिए। एक कांग्रेस नेताका अनुसार देउवा, शशांक र शेखरबीच शुक्रबार बिहान ९ बजेर ५ मिनेटदेखि ९ बजेर ५० मिनेटसम्म करिब ४५ मिनेट संयुक्त भेटवार्ता भएको थियो।

भेटवार्ताको औपचारिक विषय सार्वजनिक नभए पनि कांग्रेसको पछिल्लो आन्तरिक राजनीतिक अवस्था, पार्टीभित्रको शक्ति सन्तुलन, आगामी रणनीति तथा शुक्रबार आयोजना हुने राष्ट्रिय भेलाका विषयमा छलफल भएको हुनसक्ने कांग्रेस वृत्तमा चर्चा छ।

लामो समय विदेशमा रहेका देउवा स्वदेश फर्किएलगत्तै पार्टीका प्रभावशाली नेतासँग भेटवार्तामा जुट्नुलाई कांग्रेसको आन्तरिक राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।

राष्ट्रिय भेला आयोजक समितिका संयोजकसमेत रहेका शशांक कोइराला देउवासँगको भेटपछि शुक्रबार आयोजना हुने राष्ट्रिय भेलामा सहभागी हुँदैछन्। शेखर कोइराला पनि भेलामा सहभागी हुने भएका छन्। भेलामा शेखरले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

शेखर पछिल्लो समय देउवा पक्षका गतिविधिमा त्यति सक्रिय देखिएका थिएनन्। तर राष्ट्रिय भेलामा उनको सहभागिता र त्यसअघि देउवासँग भएको भेटवार्ताले कांग्रेसभित्र नयाँ राजनीतिक समीकरण निर्माणको सम्भावनाबारे चर्चा बढाएको छ।

देउवा उपचारका लागि गत फागुन १३ गते सिंगापुर गएका थिए। त्यसपछि उनले करिब पाँच महिना सिंगापुर र हङकङमा बिताएका थिए। लामो समय विदेशमा रहेका देउवा बिहीबार स्वदेश फर्किएका हुन्।

देउवा नेपाल फर्किँदा कांग्रेसका नेता तथा कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागत गरेका थिए। विमानस्थलबाट उनलाई महाराजगञ्जस्थित निवाससम्म कार्यकर्ताले स्कर्टिङ गरेका थिए। लामो समयपछि स्वदेश फर्किएका देउवाको स्वागतमा नेता तथा कार्यकर्ताको उपस्थिति देखिनुलाई पनि कांग्रेसभित्र उनको प्रभाव कायमै रहेको सन्देशका रूपमा हेरिएको छ।

स्वदेश फर्किएको केही घण्टामै देउवाले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट सुरु गरेका थिए। शुक्रबार बिहान शशांक र शेखरसँग भएको भेट त्यसैको निरन्तरता हो।

यसबीच कांग्रेसको संस्थापन पक्ष र संस्थापनइतर समूहबीच पार्टीको आगामी राजनीतिक दिशा, नेतृत्व र संगठनात्मक गतिविधिलाई लिएर आन्तरिक बहस चलिरहेको छ। यस्तो अवस्थामा देउवा लामो समय विदेश बसेर फर्किएपछि सक्रिय हुनु र कोइराला परिवारका दुई प्रभावशाली नेतासँग एकैपटक भेट गर्नुले पार्टीभित्रको शक्ति समीकरणलाई थप चासोको विषय बनाएको छ।

शुक्रबार सुकेधारामा आयोजना हुने राष्ट्रिय भेलाको संयोजन शशांक कोइरालाले गरेका छन्। भेलामा कांग्रेसका विभिन्न नेता तथा कार्यकर्ताको सहभागिता रहने बताइएको छ। देउवाले भेलालाई विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

भेलामा शेखर कोइरालाको सहभागितालाई पनि विशेष रूपमा हेरिएको छ। कांग्रेसको पछिल्लो आन्तरिक राजनीतिक गतिविधिमा आफ्नो छुट्टै धार निर्माण गर्दै आएका शेखर देउवा पक्षले आयोजना गरेको भनिएको भेलामा सहभागी हुनुले पार्टीभित्र संवाद र सहकार्यको नयाँ सम्भावनातर्फ संकेत गरेको नेताहरूको बुझाइ छ।

यद्यपि देउवा, शशांक र शेखरबीचको भेटवार्तामा के-के विषयमा छलफल भयो भन्नेबारे नेताहरूले औपचारिक रूपमा केही बताएका छैनन्। तर लामो समयपछि स्वदेश फर्किएका देउवाले तत्कालै पार्टीका प्रभावशाली नेतासँग भेटवार्ता गर्नु र राष्ट्रिय भेलालाई सम्बोधन गर्न लाग्नुले उनी आगामी दिनमा कांग्रेसको आन्तरिक राजनीतिमा पुनः सक्रिय भूमिका निर्वाह गर्ने तयारीमा रहेको संकेत गरेको छ।

देउवा कांग्रेसको सभापति रहँदा पार्टीभित्र उनको प्रभाव बलियो थियो। सभापतिको जिम्मेवारीबाट बाहिरिएपछि पनि पार्टीको महत्वपूर्ण निर्णय र आन्तरिक शक्ति सन्तुलनमा उनको भूमिका प्रभावशाली रहँदै आएको छ।

त्यसैले उनको स्वदेश फिर्तीपछि भएका राजनीतिक भेटघाटलाई कांग्रेसभित्र सामान्य भेटका रूपमा मात्र नहेरी आगामी राजनीतिक गतिविधिसँग जोडेर हेरिएको छ।

शशांक र शेखर दुवै कांग्रेसभित्र प्रभावशाली कोइराला परिवारका नेता हुन्। शशांक पूर्वमहामन्त्री हुन् भने शेखर पछिल्लो समय पार्टीको नेतृत्व र संगठनात्मक विषयमा सक्रिय रहँदै आएका छन्।

यी दुई नेतासँग देउवाको संयुक्त भेट र त्यसलगत्तै राष्ट्रिय भेलामा उनीहरूको सहभागिताले कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ संवादको वातावरण बन्ने संकेतसमेत गरेको छ।

समिति बैठकमा मर्यादित भाषा प्रयोग गर्न सभापति बास्कोटाको रुलिङ

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समिति सभापति समीक्षा बास्कोटाले समिति बैठकमा विषयवस्तुमा केन्द्रित भएर मर्यादित र संवेदनशील भाषा प्रयोग गर्न सदस्य तथा आमन्त्रित व्यक्तिलाई आग्रह गरेकी छन्।

शुक्रबार बसेको समिति बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन २०८३ माथि छलफल भएको थियो। बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले समितिमा पेस गरेको प्रतिवेदन २०८३ पारित गर्ने तयारीसमेत भइरहेको छ।

बैठकमा गृहमन्त्री सुधन गुरुङ, कानुनमन्त्री सोविता गौतम, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलगायत सहभागी थिए।

छलफलका क्रममा सभापति बास्कोटाले समितिमा बोल्दा प्रयोग गरिने भाषा, शब्द र व्यवहारप्रति सबै सचेत हुनुपर्ने बताइन्। समितिमा विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रमुखदेखि अन्य उच्च पदस्थ अधिकारीलाई आमन्त्रण गरिने भएकाले बैठकमा हुने गतिविधि आम नागरिकले समेत नियालिरहेको उनको भनाइ थियो।

‘समितिमा हामीले आमन्त्रण गर्ने व्यक्तिहरू कुनै न कुनै संगठनका प्रमुख, कुनै न कुनै मन्त्रालयदेखि लिएर निकायका प्रमुख भएर काम गरिरहनुभएको स्थिति भएकोले यहाँ बोलिने भाषा, प्रयोग गरिने शब्द र व्यवहारप्रति हामी सचेत हुनुपर्छ,’ उनले भनिन्।

उनले समिति बैठकमा छलफल गर्दा विषयान्तर नगर्न पनि सदस्य तथा आमन्त्रित व्यक्तिहरूलाई आग्रह गरिन्। विषय उठाउँदा भाषाको प्रयोगमा समेत संवेदनशील र जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो।

‘समितिमा बोल्ने विषयमा विषयान्तर नभई हामीले प्रयोग गर्ने भाषामा पनि त्यत्तिकै सचेत र संवेदनशील भएर विषय उठान गरिदिनुहुन्छ भनेर माननीय सदस्यहरू र आमन्त्रित सम्पूर्ण व्यक्तित्वहरूमा हार्दिक अनुरोध गर्न चाहन्छु,’ सभापति बास्कोटाले भनिन्।

मुख्यमन्त्री बनेपछि खगराजले भने – ‘२७ लाख जनताको नेतृत्वको जिम्मेवारीले चुनौती थपेको छ’

काठमाडौं। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त खगराज भट्टले २७ लाख जनताको नेतृत्व गर्ने अवसरसँगै आफूमा जिम्मेवारी र चुनौती थपिएको बताएका छन्।

नेपाली कम्युनिस्ट पार्टीका नेता भट्टलाई नेकपा एमालेको समर्थनमा शुक्रबार सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त गरिएको हो।

मुख्यमन्त्रीमा नियुक्त भएपछि प्रतिक्रिया दिँदै भट्टले आफूलाई पद प्राप्त भएकोमा खुसीभन्दा जिम्मेवारीबोध बढी भएको बताए। उनले प्रदेशका सबै जनताको भावना समेटेर काम गर्ने प्रतिबद्धता जनाए।

‘खुसीभन्दा बढी जिम्मेवारीबोध र अलि बढी चुनौतीको भारीले थिचिएको महसुस भएको छ,’ उनले भने, ‘सिङ्गो सदनको विश्वास लिएर २७ लाख जनताको भावनालाई केन्द्रमा राखेर काम गर्नेछु।’

भट्टले आफ्नो कार्यकालमा तत्कालै ठूलो परिवर्तन वा चमत्कार गर्ने दाबी नगरे पनि आफूले गर्ने काम गुणस्तरीय र परिणाममुखी बनाउने बताए।

‘जे गर्नेछु, राम्रो गर्नेछु र राम्रो गरेको अनुभूति दिलाउनेछु,’ उनले भने।

मुख्यमन्त्री भट्टले शुक्रबार अपराह्न पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। शपथपछि उनले प्रदेश सरकारको नयाँ मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

साइबर अपराधी सक्रिय, प्रहरीमा २० हजार उजुरी

काठमाडौं । सामाजिक सञ्जाल र डिजिटल प्रविधिको प्रयोग बढेसँगै त्यसको दुरुपयोगबाट हुने साइबर अपराधका घटना पनि बढ्दै गएका छन्।

सामाजिक सञ्जालमार्फत ब्ल्याकमेल, चरित्र हत्या, ठगी, अनलाइन स्क्यामिङदेखि विभिन्न डिजिटल प्रणालीमा अनधिकृत पहुँच पुर्‍याउनेसम्मका घटना प्रहरीमा पुग्ने गरेका छन्।

नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाल इमेलमार्फत महिलालाई अश्लील सन्देश पठाई चरित्र हत्या गरेको आरोपमा गत असार २६ गते पक्राउ परेका थिए। त्यस्तै नुवाकोटकै १९ वर्षीय विवेक सुनार फेसबुक ह्याक गरी अनधिकृत पहुँच बनाएर ठगी गरेको आरोपमा असार २४ गते पक्राउ परेका थिए।

रौतहटका २२ वर्षीय शुभम साह भने इसेवाको कर्मचारी भएको झूटो दाबी गर्दै ठगी गरेको आरोपमा असार २ गते पक्राउ परेका थिए। यी घटना पछिल्लो समय देखिएका साइबर अपराधका प्रतिनिधि उदाहरण हुन्।

यही क्रममा समाचारको विषयलाई लिएर वैयक्तिक गोपनीयता भंग गरेको आरोपमा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पनि पक्राउ परेका छन्। उनलाई साउन २७ गते राति कुसुन्तीस्थित निवासबाट पक्राउ गरिएको थियो। सुरुमा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएका श्रेष्ठलाई पछि प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा सारिएको प्रहरीले जनाएको छ।

श्रेष्ठविरुद्ध एक महिलाले समाचार प्रकाशनसँग सम्बन्धित विषयमा वैयक्तिक गोपनीयता भंग भएको भन्दै उजुरी दिएको बताइएको छ। पक्राउपछि अदालतले उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

श्रेष्ठलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिटसमेत दायर भएको छ। उक्त रिटमा सर्वोच्च अदालतले श्रेष्ठलाई बरामद सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

नेपाल प्रहरीको केन्द्रीय समाचारकक्षका अनुसार सीमित स्रोतसाधनका बाबजुद साइबर ब्यूरोले उपलब्ध प्रविधिको अधिकतम प्रयोग गर्दै सामाजिक सञ्जालको दुरुपयोग, ब्ल्याकमेल, ठगी, अनलाइन स्क्यामिङ, सफ्टवेयर कम्पनीको स्रोत कोडमा अनधिकृत पहुँचलगायत विद्युतीय कसुरमा संलग्न व्यक्तिमाथि अनुसन्धान गरी कानुनी कारबाही अघि बढाउँदै आएको छ।

आर्थिक वर्ष २०८२/८३ मा साइबर अपराधसँग सम्बन्धित २० हजार ५२६ वटा निवेदन प्रहरीमा दर्ता भएका छन्। सोही अवधिमा साइबर अपराधसम्बन्धी १६१ वटा मुद्दा दर्ता हुँदा १५५ जना पक्राउ परेका छन्।

दर्ता भएका उजुरीमध्ये सबैभन्दा धेरै फेसबुक तथा म्यासेन्जरको दुरुपयोगसँग सम्बन्धित छन्। यसअन्तर्गत ७ हजार १२३ वटा निवेदन परेका छन्। टिकटकसम्बन्धी ६ हजार ७७६, ह्वाट्सएपसम्बन्धी ३ हजार १०५ र टेलिग्रामसम्बन्धी १ हजार ३१ वटा उजुरी दर्ता भएका छन्।

त्यस्तै इन्स्टाग्रामका ६२८, इमेलका ११४, भाइबरका २१, इमोका ३८, युट्युबका ६४, वीच्याटका १४, ट्वीटरका ११ र गुगलसम्बन्धी ११ वटा निवेदन प्रहरीमा परेका छन्। इसेवा, खल्ती, बैंक खाता तथा एसएमएससँग जोडिएका ठगीका ७४४ वटा उजुरी छन् भने संस्थासम्बन्धी ८४६ वटा निवेदन दर्ता भएका छन्।

यसअघि आर्थिक वर्ष २०८१/८२ मा साइबर अपराधसँग सम्बन्धित १८ हजार ९२६ र आर्थिक वर्ष २०८०/८१ मा १९ हजार ७३० वटा निवेदन प्रहरीमा दर्ता भएका थिए। पछिल्लो वर्ष उजुरीको संख्या फेरि बढेको प्रहरीको तथ्यांकले देखाउँछ।

साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार सामाजिक सञ्जालको प्रयोग विस्तार हुँदै जाँदा त्यसको दुरुपयोगबाट हुने अपराध पनि बढिरहेको छ।

उनका अनुसार पछिल्ला दुई आर्थिक वर्षका उजुरीको प्रवृत्ति हेर्दा बैंक तथा डिजिटल वालेटको कार्यालयबाट फोन गरेको भन्दै पीडितको खातामा पहुँच बनाएर रकम निकाल्ने, उपहार, चिठ्ठा वा पार्सल आएको भन्दै रकम असुल्ने तथा प्रेम सम्बन्धको बहाना बनाएर ठगी गर्ने घटना बढेका छन्।

त्यस्तै वैदेशिक रोजगारीको प्रलोभन देखाएर रकम असुल्ने, टेलिग्राम, ह्वाट्सएप तथा इन्स्टाग्राममार्फत अनलाइन रोजगारीको आकर्षक प्रस्ताव पठाउने र अनलाइन सपिङको नाममा ठगी गर्ने प्रवृत्तिसमेत बढेको प्रहरीको भनाइ छ।

प्रविधिको विकाससँगै अपराध गर्ने तरिका पनि परिवर्तन हुँदै जाँदा साइबर अपराधको अनुसन्धान थप जटिल बन्दै गएको छ। अपराधीले नयाँ–नयाँ प्रविधि र डिजिटल माध्यम प्रयोग गर्न थालेपछि त्यस्ता घटनाको पहिचान, प्रमाण संकलन र अनुसन्धान प्रहरीका लागि चुनौतीपूर्ण बनेको छ।

यही चुनौतीलाई ध्यानमा राख्दै प्रविधिको प्रयोगबाट हुनसक्ने अपराध रोकथाम तथा अनुसन्धान गर्ने उद्देश्यले नेपाल सरकारको २०७५ जेठ २७ गतेको निर्णयबाट साइबर ब्यूरो स्थापना गरिएको थियो। ब्यूरोलाई थप प्रविधिमैत्री बनाउने, प्रहरी कर्मचारीको साइबर अपराध तथा डिजिटल सुरक्षासम्बन्धी क्षमता बढाउने र सर्वसाधारणमा साइबर सुरक्षाबारे सचेतना फैलाउने कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

नेपाल प्रहरीले प्रविधिको माध्यमबाट हुने अपराध नियन्त्रण र अनुसन्धानलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।

साइबर अपराधमा संलग्न व्यक्तिमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कानुनी कारबाही हुने गरेको प्रहरीले जनाएको छ।

किशोर श्रेष्ठ महाराजगञ्ज प्रहरी हिरासतमा सारिए

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा सारिएको छ।

यसअघि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीस्थित हिरासतमा राखिएको थियो।

श्रेष्ठलाई महाराजगञ्ज वृत्तको हिरासतमा राखिएको प्रहरीले पुष्टि गरेको छ।

समाचार प्रकाशनका विषयलाई लिएर एक महिलाले वैयक्तिक गोपनीयता भंग भएको आरोपमा उजुरी दिएपछि श्रेष्ठलाई साउन २७ गते राति कुसुन्तीस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको थियो।

पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो। बिहीबार अदालतले श्रेष्ठलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

यसैबीच श्रेष्ठलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर भएको छ। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले श्रेष्ठलाई बरामद गरिएका सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

श्रेष्ठलाई महाराजगञ्ज वृत्तमा सारिनुको कारणबारे प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

रवि-बालेनको कमजोरीमा नझुम्मिन योगेशको चेतावनी

काठमाडौं। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नयाँ राजनीतिक शक्तिका कमजोरीलाई आधार बनाएर पुराना दलका नेताहरूले आफ्नो सान्दर्भिकता र पुनरोदयको आधार खोज्नु गलत हुने बताएका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कमजोर बन्दै गएको अवस्थालाई देखाएर पुराना दलका शीर्ष नेताहरू आत्मरतिमा रमाउनु झनै ठूलो राजनीतिक भूल हुने टिप्पणी गरेका छन्।

भट्टराईले शुक्रबार सामाजिक सञ्जालमार्फत पुराना र नयाँ दुवै राजनीतिक शक्तिको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्। उनका अनुसार रास्वपाको उदय पुराना दलका कमजोरी र प्रमुख नेताहरूको असक्षमताबाट बनेको राजनीतिक परिस्थितिको परिणाम थियो।

‘पुराना पार्टी (एमाले, कांग्रेस र माओवादी) को अकर्मण्यता र तिनका प्रमुख नेताहरूको अयोग्यतालाई नै आफ्नो उत्थानको प्रमुख आधार मानेर रास्वपा पार्टी जन्माइयो,’ उनले लेखेका छन्।

रवि लामिछाने र बालेन शाहलाई नेतृत्वमा अघि सार्दा रास्वपाले सुरुवाती चरणमा उल्लेख्य राजनीतिक सफलता हासिल गरे पनि पार्टी निर्माणका लागि आवश्यक विचार, सिद्धान्त, नीति, वर्गीय तथा सामाजिक आधार निर्माणमा पर्याप्त ध्यान नदिँदा अहिले कमजोर हुँदै गएको उनको विश्लेषण छ।

‘रवि, बालेनलाई नेता बनाइयो, तत्काल ठुलै सफलता पनि मिल्यो। तर रवि, बालेन र रास्वपाले पार्टी निर्माणका लागि आवश्यक पर्ने विचार, सिद्धान्त, नीति, वर्ग र सामाजिक आधार निश्चित गर्नतर्फ ध्यान नदिँदा शिखरबाट ओरालो यात्रा सुरु भएको छ,’ भट्टराईले भनेका छन्।

रास्वपाको ओरालो यात्रा तथा रवि लामिछाने र बालेन शाहको अयोग्यतालाई पुराना दलका नेताहरूले आफ्नो नेतृत्वको सान्दर्भिकता पुनःस्थापित गर्ने आधार ठान्नु उचित नहुने उनको भनाइ छ।

‘रास्वपाको ओरालो यात्रा र रवि र बालेनको अयोग्यतालाई आफ्नो नेतृत्वको सान्दर्भिकता र पुनरोदयको आधार ठानेर आत्मरतिमा मस्त छन्,’ भट्टराईले टिप्पणी गरेका छन्।

उनले अरूको कमजोरी र असफलताको मूल्यांकन गरेर रमाइरहेका राजनीतिक नेतृत्वहरू आफ्नै राजनीतिक परीक्षामा भने असफलताको संकेत देखिरहेको पनि बताएका छन्।

भट्टराईले नेतृत्वमा टिकिरहन वा शासन लम्ब्याउन विरोधीमाथि बदला र प्रतिशोधको राजनीति प्रभावकारी आधार बन्न नसक्ने बताएका छन्। यस्तो प्रवृत्ति विगतमा पनि असफल भएको र अहिले पनि त्यसबाट राजनीतिक सफलता हासिल गर्न नसकिने उनको टिप्पणी छ।

‘बाहिर र भित्रका विरोधीमाथिको बदला र प्रतिशोध नेतृत्वमा टिक्ने र शासनलाई लम्ब्याउने आधार न हिजोकालाई काम लाग्यो, न आजकालाई काम लाग्ने छ,’ उनले लेखेका छन्।

पुराना दलका प्रमुख नेताहरूले विगतका कमजोरीबाट पाठ सिक्नुको सट्टा फेरि त्यही गल्ती दोहोर्‍याउन थालेको भन्दै भट्टराईले नयाँ शक्तिको असफलतालाई आफ्नो राजनीतिक पुनरागमनको अवसरका रूपमा मात्रै हेर्न नहुने संकेत गरेका छन्।

गण्डकीमा सवारी दुर्घटना बढ्यो, एक वर्षमा २५२ जनाको मृत्यु

काठमाडौं। गण्डकी प्रदेशमा सवारी दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेको छ। ट्राफिक प्रहरी कार्यालय गण्डकीका अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा दुर्घटना करिब १४ प्रतिशत र मृत्युदर करिब ७ प्रतिशतले बढेको हो।

आर्थिक वर्ष २०८२/८३ मा प्रदेशभर ४३५ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा २५२ जनाको मृत्यु भएको छ भने ३४७ जना गम्भीर र १७९ जना सामान्य घाइते भएका छन्।

आर्थिक वर्ष २०८१/८२ मा ३८२ दुर्घटना हुँदा २३७ जनाको मृत्यु भएको थियो। त्यस वर्ष ३०८ जना गम्भीर र २२३ जना सामान्य घाइते भएका थिए। त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा ३९५ दुर्घटना हुँदा १७७ जनाले ज्यान गुमाएका थिए भने ३१२ जना गम्भीर र २५२ जना सामान्य घाइते भएका थिए।

जिल्लागत रूपमा हेर्दा पछिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी दुर्घटना नवलपुर र कास्कीमा भएका छन्। नवलपुरमा ११८ र कास्कीमा ११५ वटा दुर्घटना भएका छन्। तनहुँमा ७८, गोरखामा २५ र पर्वतमा २० वटा दुर्घटना भएका छन्। सबैभन्दा कम मनाङमा दुई र मुस्ताङमा छ वटा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल र स्कुटर पर्ने गरेका छन्। पछिल्लो वर्ष दुईपांग्रे सवारीसाधन ३०७ वटा दुर्घटनामा परेका छन्। त्यस्तै जिप तथा कार १०५, ट्रक तथा ट्यांकर ४८ र बस ३९ वटा दुर्घटनामा परेका छन्।

ट्राफिक प्रहरी कार्यालय गण्डकीका प्रमुख एसपी गोविन्दराज काफ्लेका अनुसार अधिकांश दुर्घटना चालककै लापरबाहीका कारण हुने गरेका छन्। कुल दुर्घटनामध्ये ३६२ वटा चालकको कारण भएको प्रहरीको तथ्यांक छ। चालकको कारण भएका दुर्घटनामध्ये २३५ वटा तीव्र गतिका कारण भएका छन् भने ६० वटा मादक पदार्थ सेवनका कारण भएका छन्।

सडकको अवस्थाका कारण २६, सवारीसाधनको यान्त्रिक गडबडीका कारण २२ र सडक प्रयोगकर्ताको त्रुटिका कारण १६ वटा दुर्घटना भएका छन्। अन्य दुर्घटनाका कारणमा विभिन्न पक्ष जोडिएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशमा हाल १२ हजार ९२१ किलोमिटर सडक सञ्जाल रहेको छ भने ३ लाख ६७ हजार ८५५ वटा सवारीसाधन दर्ता भएका छन्। प्रदेशमा दर्ता नभएका सवारीसाधनसमेत सडकमा गुड्ने भएकाले ट्राफिक व्यवस्थापनको चुनौती अझ ठूलो रहेको प्रहरीको भनाइ छ।

ट्राफिक प्रहरीको जनशक्ति पर्याप्त नहुँदा सबै दुर्घटनालाई अभिलेखमा ल्याउनसमेत समस्या हुने एसपी काफ्लेले बताए। उनका अनुसार एक जना ट्राफिक प्रहरीले औसतमा ६ हजार ९८७ नागरिक, १ हजार ८२ वटा सवारीसाधन र ३७ किलोमिटर सडक व्यवस्थापन गर्नुपर्ने अवस्था छ।

गण्डकीमा दिउँसोको तुलनामा रातको समयमा बढी दुर्घटना हुने गरेको तथ्यांकले देखाएको छ। विशेषगरी साँझ ६ बजेदेखि राति १२ बजेसम्म दुर्घटनाको जोखिम उच्च छ। पछिल्लो वर्ष यही अवधिमा १७८ वटा दुर्घटना भएका छन्, जुन कुल दुर्घटनाको झन्डै ४१ प्रतिशत हो।

एसपी काफ्लेका अनुसार राति भिजिबिलिटी कम हुने, चालकले तीव्र गतिमा तथा लापरबाहीपूर्वक सवारी चलाउने, पर्याप्त आराम नगरी सवारी चलाउने र सडकमा पर्याप्त बत्ती नहुनुले दुर्घटनाको जोखिम बढाएको छ। कतिपय अवस्थामा सडक प्रयोगकर्तालाई चालकले समयमा देख्न नसक्दा पनि दुर्घटना हुने गरेको उनले बताए।

उमेर समूहका आधारमा २६ देखि ४० वर्षका व्यक्ति दुर्घटनाबाट सबैभन्दा बढी प्रभावित भएका छन्। पछिल्लो वर्ष यो उमेर समूहका ७८ जनाको मृत्यु भएको छ भने १९१ जना घाइते भएका छन्। ४१ देखि ६५ वर्ष उमेर समूहका ७६ जनाले ज्यान गुमाएका छन् भने १३० जना घाइते भएका छन्।

त्यस्तै १७ देखि २५ वर्ष उमेर समूहका ४७ जनाको मृत्यु भएको छ भने १३८ जना घाइते भएका छन्। ६६ वर्षभन्दा माथिका ३१ जना र १६ वर्षभन्दा कम उमेरका २० जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्।

सडक दुर्घटना न्यूनीकरणका लागि सडक स्तरोन्नतिसँगै पैदलयात्रीमैत्री पूर्वाधार निर्माण र आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्ने एसपी काफ्लेको सुझाव छ।

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाहीको संख्या पनि बढ्दो छ। गत आर्थिक वर्षको ११ महिनामा १ लाख ६० हजार ७९४ वटा सवारीसाधनलाई कारबाही गरिएको छ। कारबाहीबाट १४ करोड ३ लाख रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ।

क्षमताभन्दा बढी यात्रु बोक्ने र तीव्र गतिमा सवारी चलाउने सवारीसाधन सबैभन्दा बढी कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आए पनि ती प्रयास पर्याप्त नभएको एसपी काफ्लेले बताए।

दुर्घटना न्यूनीकरणका लागि मुख्य सडकमा स्मार्ट एएनपीआर अर्थात् नम्बर प्लेट पहिचान प्रणाली जडान गर्न, सिसी क्यामेरा विस्तार गर्न तथा राजमार्गमा स्मार्ट रिफ्रेस सेन्टर स्थापना गर्न उनले सरकारलाई सुझाव दिएका छन्।

बध नहुने बुटवलको बधशाला ! घाँसले ढाक्यो २२ करोडको संरचना (तस्वीरहरू)

बुटवल । सरकारले देशभर पशु बधशाला तथा मासु जाँचसम्बन्धी कानुन चरणबद्ध रूपमा कार्यान्वयन गर्ने निर्णय गरे पनि रुपन्देहीको बुटवल उपमहानगरपालिका-१० रामनगरमा करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको आधुनिक बधशाला भने प्रयोगविहीन अवस्थामा छ।

मन्त्रिपरिषद्को पछिल्लो निर्णयले पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने नीति अघि सारेको छ। स्वच्छ, सुरक्षित र व्यवस्थित रूपमा मासु उत्पादन गर्ने उद्देश्यले अघि बढाइएको यो नीतिको कार्यान्वयनका लागि बधशालाको भूमिका महत्वपूर्ण मानिन्छ। तर बुटवलमा निर्माण भएको पूर्वाधार भने सञ्चालनमा आउन नसक्दा लगानी खेर जाने जोखिम बढेको छ।

बुटवल उपमहानगरपालिकाले २०८१ जेठ १७ गते सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणाअन्तर्गत मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडलाई पाँच वर्षका लागि बधशाला सञ्चालनको जिम्मेवारी दिएको थियो। त्यसपछि केही समय सेवा सञ्चालनमा आए पनि विवाद र सम्झौता कार्यान्वयनसँग जोडिएका समस्या देखिएपछि बधशाला पुनः बन्द हुन पुग्यो।

बधशाला सञ्चालनमा समस्या आउनुको एउटा प्रमुख कारण नगर क्षेत्रमा अन्यत्र हुने पशु बधलाई व्यवस्थित गर्न नसक्नु रहेको बताइएको छ। बधशालामार्फत नै पशु बध गर्नुपर्ने व्यवस्था प्रभावकारी रूपमा लागू हुन नसक्दा सञ्चालक कम्पनीले अपेक्षित रूपमा पशु प्राप्त गर्न सकेन।

सञ्चालक कम्पनीले पर्याप्त संख्यामा पशु बधका लागि नआएपछि आर्थिक रूपमा सञ्चालन गर्न कठिन भएको बताउँदै आएको थियो। अर्कोतर्फ उपमहानगरपालिकाले कम्पनीले सम्झौताअनुसारका जिम्मेवारी पूरा नगरेको आरोप लगाएपछि दुई पक्षबीच विवाद बढेको थियो। यही विवादको असर बधशालाको सञ्चालनमा परेको हो।

हाल बधशाला परिसरको अवस्था झन् दयनीय बन्दै गएको छ। ढलान गरिएका भागबाहेक अधिकांश खाली क्षेत्रमा अग्लो घाँस र झाडी फैलिएको छ। करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएका पशु बध गर्ने संरचना, अत्याधुनिक उपकरण, चिस्यान कक्षलगायतका पूर्वाधार प्रयोगविहीन छन्।

बधशालाको नियमित विद्युत् आपूर्तिसमेत बन्द गरिएको छ। परिसरमा जडान गरिएका केही सौर्य बत्ती भने सञ्चालनमा रहेका छन्। संरचनाको सुरक्षाका लागि दुई जना सुरक्षा गार्ड खटाइएको बताइएको छ। सर्वसाधारणलाई बधशाला परिसरमा प्रवेश गर्नसमेत रोक लगाइएको छ।

बुटवल–नारायणगढ सडक विस्तारका क्रममा सडकको सतह उकासिएपछि बधशाला सडकभन्दा होचो भागमा परेको छ। मुख्य प्रवेशद्वारसम्म पुग्ने बाटोसमेत हिलाम्य देखिन्छ। बाहिरबाट हेर्दा परिसरको ठूलो हिस्सा घाँस र झाडीले ढाकिएको सहजै देखिन्छ।

स्वच्छ तथा मापदण्डअनुसारको मासु उत्पादनलाई प्राथमिकता दिँदै सरकारले देशभर व्यवस्थित बधशाला सञ्चालनको नीति अघि बढाइरहेका बेला बुटवलको आधुनिक बधशाला भने बन्द अवस्थामा रहनुले सरकारी लगानी र त्यसको उपयोगितामाथि प्रश्न उठाएको छ।

करिब २२ करोड रुपैयाँ खर्च भइसकेको संरचना लामो समयसम्म प्रयोगमा नआए उपकरण बिग्रिने तथा पूर्वाधार थप जीर्ण हुने जोखिमसमेत छ।

यस्तो अवस्थामा बधशालालाई पुनः सञ्चालनमा ल्याउन स्थानीय तह, निजी क्षेत्र र सम्बन्धित सरकारी निकायबीच देखिएको विवाद समाधान गर्दै स्पष्ट कार्ययोजना अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ।
तस्वीरहरू:

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङ लगियो, सरकारसँग परिवारका १२ माग

काठमाडौं । वैकल्पिक आवासको व्यवस्था नगरी घरटहरा भत्काएर विस्थापित गरिएका ४७ वर्षीय हिरालाल हजारा दुसादको मृत्युको घटनाप्रति परिवार तथा अधिकारकर्मीहरूले गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिनसहित राज्यसँग १२ बुँदे माग अघि सारेका छन्।

राष्ट्रिय मानव अधिकार आयोगसहित सम्बन्धित सरकारी निकायलाई बुझाइएको मागपत्रमा घरटहरा भत्काएपछि प्रभावित परिवारलाई वैकल्पिक व्यवस्था नगरी विस्थापित अवस्थामा राख्दा उनीहरू लामो समयदेखि मानसिक तनाव, असुरक्षा र भविष्यको अनिश्चिततामा बाँच्न बाध्य भएको उल्लेख छ।

दुसाद केही वर्षदेखि बस्दै आएको घरटहरा भत्किएपछि वैकल्पिक आवासविहीन भएका थिए। त्यसपछि उनी कहिले कीर्तिपुर त कहिले बोढे क्षेत्रमा रहेका होल्डिङ सेन्टरमा बस्नुपरेको परिवारको भनाइ छ। घरबारविहीन भएपछि बढेको मानसिक दबाब र अनिश्चितताबीच उनले आत्महत्या गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने विषयमा निष्पक्ष अनुसन्धान गर्न परिवारले माग गरेको छ।

मागपत्रमा हिरालालको मृत्यु  व्यक्तिगत घटना नभई विस्थापन, भूमिहीन तथा अव्यवस्थित बसोबासीप्रति राज्यको नीति र प्रशासनिक व्यवहारसँग जोडिएको गम्भीर विषय भएको दाबी गरिएको छ। त्यसैले राष्ट्रिय मानव अधिकार आयोग वा स्वतन्त्र न्यायिक छानबिन समितिमार्फत घटनाको अनुसन्धान गरी जिम्मेवार देखिएका व्यक्ति तथा पदाधिकारीमाथि कानुनअनुसार कारबाही गर्न माग गरिएको छ।

परिवार तथा अधिकारकर्मीहरूले हिरालालको अन्त्येष्टि धार्मिक, सांस्कृतिक र पारिवारिक परम्पराअनुसार सम्मानपूर्वक गर्न लाग्ने सम्पूर्ण खर्च राज्यले व्यहोर्नुपर्ने माग गरेका छन्। साथै भूमि तथा आवाससम्बन्धी नागरिक आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका रूपमा उनलाई ‘शहीद’ घोषणा गरी सम्मान दिनुपर्ने माग पनि गरिएको छ।

मृतक परिवारलाई तत्कालीन राहतमा सीमित नराखी दीर्घकालीन जीविकोपार्जन सुनिश्चित हुने गरी उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ। क्षतिपूर्ति निर्धारण गर्दा परिवारको आर्थिक अवस्था, आश्रित सदस्यको संख्या र भविष्यको जीविकोपार्जनलाई समेत आधार बनाउनुपर्ने उनीहरूको भनाइ छ।

त्यसैगरी संविधानले सुनिश्चित गरेको आवासको हक र सम्मानपूर्वक बाँच्न पाउने अधिकार कार्यान्वयन गर्दै मृतकको परिवारलाई सुरक्षित तथा स्थायी आवाससहित कानुनी स्वामित्व भएको जग्गा उपलब्ध गराउन माग गरिएको छ। परिवारलाई फेरि कुनै होल्डिङ सेन्टरमा सार्नेभन्दा स्थायी समाधान दिनुपर्ने माग छ।

मृतकका बालबालिकालाई माध्यमिक तहदेखि उच्च शिक्षा तथा प्राविधिक र व्यावसायिक शिक्षासम्म छात्रवृत्तिसहित निःशुल्क शिक्षा उपलब्ध गराउने लिखित प्रतिबद्धता गर्न पनि माग गरिएको छ।

परिवारलाई राहतमा निर्भर बनाउनेभन्दा आत्मनिर्भर बनाउने नीति आवश्यक रहेको भन्दै योग्यताका आधारमा परिवारका कम्तीमा एक जना सक्षम सदस्यलाई सरकारी वा सार्वजनिक संस्थानमा रोजगारीको विशेष व्यवस्था गर्न माग गरिएको छ। मृतककी श्रीमती, बालबालिका, वृद्ध आमाबुबा तथा अन्य वास्तविक आश्रितलाई निःशुल्क स्वास्थ्य उपचार, सामाजिक सुरक्षा र दीर्घकालीन संरक्षणको व्यवस्था गर्न पनि भनिएको छ।

बिना पूर्वसूचना, वैकल्पिक व्यवस्थापन र आवश्यक कानुनी प्रक्रिया पूरा नगरी घरटहरा भत्काउने, धरपकड गर्ने, त्रास सिर्जना गर्ने तथा प्रभावितलाई होल्डिङ सेन्टरमा सार्ने कार्य रोक्न माग गरिएको छ। होल्डिङ सेन्टरलाई विस्थापित नागरिकको स्थायी समाधानको विकल्प नबनाउन पनि सरकारसँग आग्रह गरिएको छ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको वास्तविक अवस्था पहिचान गर्न निष्पक्ष लगत संकलन, प्रमाणको वैज्ञानिक परीक्षण र सार्वजनिक सुनुवाइको व्यवस्था गरी सम्बन्धित आयोग तथा कानुनी संयन्त्रमार्फत स्थायी समाधान खोज्न माग गरिएको छ।

त्यस्तै, होल्डिङ सेन्टरमा रहेका परिवारको आवास, खानेपानी, खाद्यान्न, स्वास्थ्य, शिक्षा, सुरक्षा, सरसफाइ र मानसिक स्वास्थ्यको अवस्थाबारे सम्बन्धित सरकारी निकाय तथा राष्ट्रिय मानव अधिकार आयोगले नियमित अनुगमन गरी त्यसको विवरण सार्वजनिक गर्न माग गरिएको छ।

यसैबीच, पीडित परिवारका अनुसार भक्तपुरका प्रमुख जिल्ला अधिकारीले घटनापछि राति करिब १० बजे परिवारका सदस्यलाई मन्त्री प्रतिभा रावलसँग फोनमा कुराकानी गराएका थिए।

परिवारका अनुसार कुराकानीका क्रममा मन्त्री रावलले परिवारका लागि काम गर्ने, धनीपुर्जासहितको जग्गा उपलब्ध गराउन पहल भइरहेको र रातिको समयमा आफू आउन नसकेको बताएकी थिइन्। उनले शव उठाउन दिन आग्रह गरेको परिवारको भनाइ छ।

परिवारका अनुसार प्रमुख जिल्ला अधिकारीले परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गरिदिने जिम्मेवारीसमेत लिने आश्वासन दिएका थिए। त्यसपछि हिरालालको शव शिक्षण अस्पतालमा लगेर राखिएको बताइएको छ।

परिवारले भने मौखिक आश्वासनभन्दा आफ्ना माग कार्यान्वयन हुने सुनिश्चितताका लागि लिखित प्रतिबद्धता र स्थायी समाधान आवश्यक रहेको जनाएको छ।

सम्झौताअनुसार काम नगर्ने चार कम्पनी कालोसूचीमा, कुन-कुन ?

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले काममा ढिलाइ गर्ने र सम्झौतामा उल्लेख गरिएका जिम्मेवारी पूरा नगर्ने चार निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ।

कार्यालयले साउन २८ गते गरेको निर्णयका आधारमा साउन २९ गते सार्वजनिक सूचना जारी गर्दै चारवटै कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) अनुसार कालोसूचीमा राखेको जनाएको छ। कालोसूचीको अवधिभर सम्बन्धित कम्पनीले सरकारी तथा सार्वजनिक निकायबाट हुने खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

हुम्लाको पूर्वाधार विकास कार्यालयको सिफारिसपछि बाजुराको गोत्री–४ मा रहेको पूर्ण निर्माण सेवालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ। उक्त कम्पनीका मुख्य व्यक्ति कालीबहादुर शाही रहेका छन्।

बाँकेको नरैनापुर गाउँपालिकाको सिफारिसमा जमुनाह गाउँ–५, नरैनापुरमा रहेको सैयद गाजी फत्ते निर्माण सेवा एक वर्षका लागि कालोसूचीमा परेको छ। कम्पनीका मुख्य व्यक्ति ताहिर खाँ हुन्।

त्यस्तै, कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय रामपुर, चितवनको सिफारिसमा कालिकोटको तिलागुफा–७ स्थित जीडीएस कन्स्ट्रक्सनलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ। सो कम्पनीका मुख्य व्यक्ति सुरेन्द्रबहादुर बम हुन्।

773249216_1102957745738505_960521982717457870_n

महालेखापरीक्षकको कार्यालय, अनामनगरको सिफारिसमा काठमाडौं–२२ मा रहेको टिम एसिया नेपाल प्रालि पनि एक वर्षका लागि कालोसूचीमा परेको छ। उक्त कम्पनीका मुख्य व्यक्ति विक्रम सिंह बुढाथोकी रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार कालोसूचीमा परेका अवधिभर यी कम्पनीले सार्वजनिक निकायबाट सञ्चालन हुने कुनै पनि खरिदसम्बन्धी कारबाहीमा भाग लिन पाउने छैनन्।

अमेरिका-इरान तनाव : हर्मुज र बाब अल-मन्देबमा बढ्यो जोखिम

काठमाडौं। अमेरिका र इरानबीच जारी तनाव थप चर्किएको छ। अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानविरुद्ध लगाइएको नौसैनिक नाकाबन्दी आवश्यक परे ‘अनिश्चितकालसम्म’ जारी राख्न सकिने बताएका छन्।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको द्वन्द्वमा अमेरिकाका मुख्य उद्देश्य सार्वजनिक गरेका छन्। उनका अनुसार अमेरिकी नागरिकका लागि ऊर्जा मूल्य स्थिर राख्नु, इरानलाई आणविक हतियार हासिल गर्नबाट रोक्नु र द्वन्द्वपछि अमेरिकालाई थप बलियो रणनीतिक अवस्थामा पुर्‍याउनु वासिङ्टनका प्रमुख लक्ष्य हुन्।

उता इरानी सेनाले हर्मुज जलडमरूमध्यमा समुद्री यातायात सामान्य रूपमा सञ्चालन भइरहेको अमेरिकी दाबीको खण्डन गरेको छ। इरानी पक्षले आफ्नो अनुमति नलिई कुनै पनि जलपोत वा जहाजलाई उक्त मार्गबाट पार हुन नदिइने दाबी गरेको छ।

यसैबीच हर्मुज जलडमरूमध्य हुँदै यात्रा गरिरहेका अबु धाबी नेसनल आयल कम्पनीका दुईवटा जलपोतमा आक्रमण भएको विवरण सार्वजनिक भएको छ। संयुक्त अरब इमिरेट्सका सरकारी सञ्चारमाध्यमका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन।

यस्तै, यमनका हुथी विद्रोहीले पश्चिमी क्षेत्रमा रहेको बाब अल-मन्देब जलडमरूमध्यलाई लक्षित गर्दै दुईवटा मिसाइल प्रहार गरेका छन्। रणनीतिक रूपमा महत्वपूर्ण मानिने उक्त समुद्री मार्गमा समेत तनाव बढेपछि खाडी क्षेत्रको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ।

हर्मुज जलडमरूमध्य विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक हो भने बाब अल-मन्देब एसिया, युरोप र मध्यपूर्वबीचको समुद्री व्यापारका लागि महत्वपूर्ण मार्ग हो। यी क्षेत्रमा लामो समय तनाव कायम रहेमा तेल तथा ग्यासको मूल्य, ढुवानी लागत र विश्वव्यापी आपूर्ति शृंखलामा असर पर्न सक्ने चिन्ता बढेको छ।

अमेरिका–इरान तनाव अब दुई देशबीचको सैन्य टकरावमा मात्र सीमित नरही विश्वव्यापी ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय समुद्री व्यापारका लागि समेत जोखिमको विषय बन्न थालेको छ।

१६ वर्षमुनिका साँढे सात लाख अकाउन्ट उडायो मेटाले

काठमाडौं। अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएपछि मेटाले साढे ७ लाखभन्दा बढी अकाउन्ट हटाएको छ।

मेटाका अनुसार गत डिसेम्बरदेखि जुनसम्म १६ वर्षभन्दा कम उमेरका अस्ट्रेलियालीले सञ्चालन गरेको आशंका गरिएका ७ लाख ५० हजारभन्दा बढी अकाउन्ट हटाइएको हो।

तीमध्ये इन्स्टाग्रामका ४ लाख ६२ हजार र फेसबुकका २ लाख ९४ हजार अकाउन्ट छन्।

बालबालिका तथा किशोरकिशोरीको मानसिक र शारीरिक स्वास्थ्यमा सामाजिक सञ्जालको प्रभावलाई ध्यानमा राख्दै अस्ट्रेलियाले १६ वर्षमुनिका प्रयोगकर्तामाथि प्रतिबन्ध लगाएको हो।

तर प्रतिबन्ध लागू भएको सुरुआती तीन महिनामै ८० प्रतिशतभन्दा बढी नाबालकले सामाजिक सञ्जाल प्रयोग गरिरहेको सरकारी तथ्यांक र स्वतन्त्र अध्ययनले देखाएको छ।

मेटाले कानुन कार्यान्वयनका लागि एआईको प्रयोग गरिरहेको जनाएको छ। प्रयोगकर्ताको प्रोफाइलमा उल्लेख भएका जन्मदिन, विद्यालयको कक्षा तथा अन्य गतिविधिका आधारमा सम्भावित नाबालकका अकाउन्ट पहिचान गर्ने गरिएको कम्पनीले जनाएको छ।

हटाइएका अकाउन्ट पुनः खोल्ने प्रयास रोक्न पनि थप प्रविधि प्रयोग भइरहेको मेटाको भनाइ छ।

यसैबीच, नियम उल्लंघन गर्ने सामाजिक सञ्जाल कम्पनीलाई अधिकतम ९ करोड ९० लाख अस्ट्रेलियाली डलरसम्म जरिबाना गर्ने तथा नियामक निकायको अधिकार बढाउने प्रस्ताव सरकारले अघि सारेको छ।

फर्किए देउवा, के होला कांग्रेसमा?

काठमाडाैं। नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फिर्ता भएका छन्। २३ र २४ भदौको जेन-जी विद्रोहका क्रममा गम्भीर आक्रमण र कुटपिटमा परेका उनी गत १४ फागुनमा उपचारका लागि सिंगापुर गएका थिए। त्यसपछि करिब साढे पाँच महिना सिंगापुर हुँदै हङकङमा बसेका उनी आज स्वदेश फर्किएका हुन्।

स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका देउवाले आफू कुनै पद वा शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढीकरण र युवा पुस्ताको भावनालाई सम्बोधन गर्न सक्रिय हुने बताएका छन्।

देउवाले जारी गरेको अपिलमा वर्तमान सरकार जनअपेक्षा पूरा गर्न असफल भएको र जनताको मतको सम्मान गर्न नसकेको आरोप लगाएका छन्। उनले राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा जनमतको कदर गर्नुपर्नेमा जोड दिएका छन्।

युवा पुस्तामा देखिएको परिवर्तनको चाहना र असन्तुष्टिलाई कांग्रेसले गम्भीर रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै देउवाले पार्टीलाई समयअनुकूल रूपान्तरण गर्ने बताएका छन्। उनले नयाँ र पुरानो पुस्ताबीच सहकार्य आवश्यक रहेको पनि बताएका छन्।

२०३३ सालमा बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको प्रसंग स्मरण गर्दै देउवाले अहिले पनि मुलुकलाई सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन्।

यता, नेपाली कांग्रेस पार्टी जीवनको तेस्रोपटक विभाजनको सम्मुखमा छ। जेन-जी विद्रोहपछि उठेको परिवर्तनको उत्कट चाहनालाई पूरा गर्ने उद्देश्य राख्दै गत माघमा कांग्रेसले विशेष महाधिवेशनको आयोजना गर्‍यो। उक्त विशेष महाधिवेशनबाट तत्कालीन महामन्त्री गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित भए। त्यसयता भने कांग्रेसमा नियमित रूपमा थापा पक्ष र देउवा पक्षले छुट्टाछुट्टै गतिविधि गर्दै आएका छन्।

देउवा पक्षले विशेष महाधिवेशनबाट निर्वाचित भएको थापा नेतृत्वको कांग्रेसलाई अवैधानिक भएको दाबी गर्दै आएको छ। यही विवाद सर्वोच्च र निर्वाचन आयोगमा पुग्दा यी दुवै निकायले थापा नेतृत्वको कांग्रेसलाई वैधानिकता प्रदान गरेका थिए।

२१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा गम्भीर पराजय बेहोरेपछि देउवा पक्षीय कांग्रेसले थापा नेतृत्वको कांग्रेस अनधिकृत भएको मुद्दा झन् चर्काउँदै गयो। यही विवादलाई लिएर सर्वोच्च अदालतसम्म पुगेको देउवा पक्षीय कांग्रेसले यही २९, ३० र ३१ साउनमा राष्ट्रिय भेलाको समेत आयोजना गरेको छ। अर्कोतिर, सर्वोच्चले पनि कांग्रेसको आधिकारिकतासम्बन्धी देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको पुनरावलोकन निवेदनमा मुद्दा सुरुदेखि हेर्ने भन्दै निस्सा समेत प्रदान गरेको छ। यसपछि देउवा पक्षीय नेताहरू पार्टी आधिकारिकतासम्बन्धी फैसला आफ्नै पक्षमा आउने भन्दै झन् हौसिएका छन् भने यही संकेत प्राप्त गरेपछि देउवा स्वदेश फर्किएका छन्।

देउवाको स्वदेश पुनरागमनपछि यो पक्षका नेताहरू पनि निकै उत्साहित देखिएका छन्। उनीहरूले देउवा नै कांग्रेसको सभापति भएको भन्दै आगामी पन्ध्रौँ महाधिवेशन पनि उनकै नेतृत्वमा हुनुपर्ने धारणा व्यक्त गरिरहेका छन्। आज एयरपोर्टमा देउवाको स्वागतका लागि पुगेका अधिकांश कांग्रेस नेताहरूले पनि देउवा फर्किएपछि कांग्रेसको सम्पूर्ण एकताको ढोका खुलेको बताए।

देउवा पक्षका नेता पूर्णबहादुर खड्काले देउवाको आगमनले नेपाली कांग्रेसको पूर्ण एकताका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘उहाँको आगमन नेपाली कांग्रेसको पूर्ण एकताका लागि महत्वपूर्ण र निर्णायक भूमिका हुनेछ,’ उनले भने, ‘जो जो एकतामा छैनन्, ती सबैलाई एकतामा जोड्न राष्ट्रिय भेलाले दबाब सिर्जना गर्नेछ।’

त्यस्तै, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले कांग्रेस एकताको आवश्यकता औँल्याउँदै पार्टी एकतामा देउवाको महत्वपूर्ण भूमिका रहने दाबी गरे। ‘हामीले सुरुदेखि नै कांग्रेसको सम्पूर्ण एकता आवश्यक छ र अहिलेको अवस्थामा कांग्रेस विभाजित हुनुहुँदैन भन्ने हाम्रो मान्यता हो,’ उनले भने, ‘देउवा दाईको आगमनले कांग्रेसको एकतामा बल पुर्‍याउँछ भन्ने विश्वास छ।’

‘अहिले केही समय राष्ट्रले उहाँको आवश्यकता महसुस गरिराखेको थियो। पार्टीको आन्तरिक विवादसहित राष्ट्रको राष्ट्रिय राजनीतिमा उहाँको महत्वपूर्ण भूमिका हुन्छ,’ देउवा पक्षका अर्का नेता रामहरी खतिवडाले बताए।

अर्कोतिर, थापा नेतृत्वको कांग्रेस भने कुनै सम्झौता नहुने अडानमा छ। सबै सर्त स्वीकार गर्न तयार भए पनि देउवालाई पुनः सभापति मान्न नसकिने थापा नेतृत्वको कांग्रेसले निरन्तर रूपमा वकालत गरिरहेको छ। थापा नेतृत्वको कांग्रेसका अनुसार सर्वोच्च अदालत र निर्वाचन आयोगले नै आधिकारिकता प्रदान गरिसकेको अवस्थामा अब यो विषयलाई विवादमा ल्याउनु हुँदैन। संसदमा समेत एकै कांग्रेस भइरहेको अवस्थामा आधिकारिकतासम्बन्धी विवादलाई चर्काउन नहुने र त्यही निहुँमा पार्टी फुटाउन नहुने पक्षमा थापा नेतृत्वको कांग्रेस छ।

तर, देउवा पक्षका नेताहरू भने त्यसमा सहमति गर्न नसकिने बताउँदै आइरहेका छन्। शेखर कोइराला, शशांक कोइराला, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, रमेश लेखक, मिन विश्वकर्मा लगायतका संस्थापन इतर पक्षका नेताहरूले निरन्तर रूपमा १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको नेतृत्वमा पन्ध्रौँ महाधिवेशन गर्नुपर्ने अडान राख्दा कांग्रेसको आगामी भविष्य र कार्यदिशा के होला भन्ने विषयले पनि अन्योलता सिर्जना गरिरहेको छ।

यही बेला करिब साढे पाँच महिनाको स्वास्थ्योपचारपछि स्वदेश फर्किएका देउवाको आगमनले फुटको संघारमा रहेको कांग्रेसलाई एकीकृत गर्न सक्ला? सार्वजनिक वृत्तमा विभिन्न खाले टीकाटिप्पणी व्यक्त भइरहेका छन्।

कोलम्बिया भूकम्प : मृत्यु हुनेको संख्या २६५ पुग्यो, ५०० बेपत्ता

काठमाडौं। पश्चिमी कोलम्बियामा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २६५ पुगेको छ। भग्नावशेषमा फसेकाहरूको खोजी जारी रहे पनि करिब ५०० जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्।

७.४ म्याग्निच्युडको भूकम्पले काली, पेरेरा र मनिजालेसलगायत सहरमा ठूलो क्षति पुर्‍याएको छ। भूकम्पपछि लगातार परकम्प गइरहेकाले उद्धार तथा खोजीमा कठिनाइ भइरहेको छ।

कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले क्षतिग्रस्त घर, अस्पताल, विद्यालय तथा अन्य पूर्वाधार पुनर्निर्माणका लागि आपतकालीन कोष स्थापना गर्ने घोषणा गरेका छन्। उनले भूकम्पबाट भएको क्षति सम्बोधन गर्न आर्थिक आपतकालसमेत घोषणा गरेका छन्।

सरकारी विवरणअनुसार भूकम्पबाट २५ हजार ८०० भन्दा बढी परिवार प्रभावित भएका छन्। तीन हजार ७७० जना घाइते भएका छन् भने नौ हजार ५५० भन्दा बढी घरमा क्षति पुगेको छ।

प्रमुख कफी उत्पादन क्षेत्रको सहर पेरेरामा ८३ जना र देशको तेस्रो ठूलो सहर कालीमा ७४ जनाको मृत्यु भएको पुष्टि भएको छ। दुर्गम चोको क्षेत्रका बस्तीसमेत प्रभावित भएका छन्।

कोलम्बियाको भूगर्भीय सर्वेक्षणका अनुसार मुख्य भूकम्पपछि १३० वटा परकम्प रेकर्ड भइसकेका छन्। क्षतिग्रस्त संरचना थप भत्किन सक्ने जोखिमका कारण उद्धार टोलीले सावधानीपूर्वक खोजी गरिरहेका छन्।

सरकारले अहिले बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावित परिवारलाई राहत तथा ध्वस्त पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ।

दसौँ राष्ट्रिय खेलकुदको मिति फेरि सर्‍यो, मंसिर १६ देखि २९ सम्म हुने

काठमाडौं। कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति फेरि परिवर्तन भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले आगामी मंसिर १६ देखि २९ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो।

यसअघि तोकिएका मिति कार्यान्वयन हुन नसकेपछि प्रतियोगिताको मिति चौथोपटक सारिएको हो। सुरुमा २०८१ मंसिर २ देखि ९ गतेसम्म प्रतियोगिता गर्ने निर्णय भएको थियो। पूर्वाधार तयारी पूरा नभएपछि मिति चैत २३ देखि ३० गतेसम्म सारियो। त्यसपछि २०८२ जेठ ३ देखि १० गते र पुनः फागुन १ देखि ७ गतेसम्मका लागि मिति तोकिएको थियो।

फागुनको मिति पनि कार्यान्वयन हुन नसकेपछि राखेपले अहिले नयाँ मिति तय गरेको हो। यसअघि फागुनको मितिलाई मन्त्रिपरिषद्ले समेत स्वीकृति दिएको थियो।

कर्णालीमा प्रतियोगिता आयोजनाका लागि वीरेन्द्रनगरस्थित प्रदेश रंगशालासहित विभिन्न खेलस्थल निर्माण तथा स्तरोन्नतिको काम भइरहेको छ। पूर्वाधार, बजेट र व्यवस्थापनको तयारी समयमै पूरा गर्नु यसपटक पनि मुख्य चुनौती बनेको छ।

राखेपले दसौँ राष्ट्रिय खेलकुदमा ३५ खेलका ४१९ स्पर्धा सञ्चालन गर्ने तयारी गरेको छ। नयाँ मिति तय भएसँगै निर्धारित समयमै प्रतियोगिता सम्पन्न गर्ने जिम्मेवारी अब राखेप र कर्णाली प्रदेश सरकारमाथि परेको छ।

प्रदीप र सनिशाको मुख्य भूमिकामा ‘शुभ विवाह’

काठमाडौं । निर्देशक सुदर्शन थापाको निर्देशनमा नयाँ नेपाली फिल्म ‘शुभ विवाह’ निर्माण हुने भएको छ। निर्माण पक्षले बिहीबार पत्रकार सम्मेलनमार्फत फिल्मका कलाकार तथा प्राविधिक टोली सार्वजनिक गरेको हो।

प्रियादर्शन फिल्म्सको ब्यानरमा बन्ने फिल्ममा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा रहनेछन्। उनीहरूसँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अंशु महर्जनलगायत कलाकारको अभिनय रहनेछ।

निर्देशक थापा र अभिनेता खड्काले यसअघि सफल फिल्म ‘प्रेम गीत’मा सहकार्य गरेका थिए।

सुप्रिया कटवालको निर्माण र साम भुजेलको कार्यकारी निर्माण रहने फिल्मको कथा प्रदीप श्रीवास्तव तथा पटकथा–संवाद रामशरण पाठकले लेखेका हुन्। संगीत अर्जुन पोखरेलको रहनेछ भने छायांकन राजेश श्रेष्ठ र सम्पादन मिलन श्रेष्ठले गर्नेछन्।

रोमान्टिक कथामा आधारित फिल्मको छायांकन चाँडै सुरु गर्ने तयारी निर्माण पक्षको छ। फिल्म आगामी फागुन २१ गतेदेखि प्रदर्शनमा आउने घोषणा गरिएको छ।

हतकडीमा अदालत लगिए किशोर श्रेष्ठ

काठमाडौं । पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हतकडी लगाएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ। उनलाई यसअघि जिल्ला सरकारी वकिलको कार्यालयमा समेत लगिएको थियो।

जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक श्रेष्ठलाई वैयक्तिक गोपनीयता उल्लंघनसम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

श्रेष्ठको रिहाइको माग गर्दै पत्रकारसम्बन्धी विभिन्न संघसंस्थाले विरोध प्रदर्शन गर्दै आएका छन्।

देउवाले भने -राजा ज्ञानेन्द्रले त सकेनन् अरुले सक्छ यहाँ ? [भिडियो]

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूलाई राजनीतिक तथा कानुनी रूपमा कमजोर बनाउने प्रयास विगतमा पनि भएको दाबी गर्दै तत्कालीन राजा ज्ञानेन्द्र शाहले समेत आफूलाई रोक्न नसकेको बताएका छन्।

बिहीबार स्वदेश फर्किएपछि कांग्रेसको संस्थापन इतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै देउवाले आफू र पत्नी आरजु राणा देउवाविरुद्ध पटक-पटक मुद्दा चलाउने प्रयास भएको बताए।

आफूविरुद्ध अन्तर्राष्ट्रिय तहमा समेत मुद्दा लगाउने प्रयास भएको दाबी गर्दै देउवाले नेपालका अदालतबाट आफू र आरजुलाई पक्राउ नगर्न आदेश आएको बताए। सम्पत्ति शुद्धीकरणसम्बन्धी निकायबाट समेत पटक–पटक अनुसन्धान भएको तर आफूविरुद्ध केही प्रमाण नपाइएको उनको भनाइ थियो।

देउवाले देशमा जनता र अदालत रहेकाले सबै घटनाबारे उनीहरू जानकार रहेको बताए। आफूले धेरै कुरा गर्न नचाहेको उल्लेख गर्दै उनले भने, ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छ यहाँ?’

देउवाले आफूविरुद्ध भएका गतिविधिको राजनीतिक प्रतिवाद गर्ने संकेतसमेत गरेका छन्। उनले आगामी दिनमा आफूहरू त्यसको जवाफ दिने बताएका छन्।

भिडियो:

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास लुकाएर राखेको भेटियो

काठमाडौं। उद्योग मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित होटल रेडिसनमा छापा मार्दा ठूलो परिमाणमा ग्यास लुकाएर राखेको भेटिएको छ।

विभागका अनुसार होटलमा मात्रै करिब १ सय ८४ वटा ग्यास सिलिन्डर फेला परेका छन्।

पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहे पनि उपभोक्ताले ग्यास नपाएको गुनासो बढेपछि विभागले विभिन्न होटल तथा व्यवसायिक प्रतिष्ठानमाथि निगरानी बढाएको थियो। 

सोही क्रममा गरिएको अनुगमनका क्रममा रेडिसन होटलमा नेपाल ग्यास र एसटीसी ग्यासका सिलिन्डर ठूलो संख्यामा भेटिएका हुन्।

विभागका अनुसार होटलमा नेपाल ग्यासका ११७ वटा फुल सिलिन्डर र एसटीसी ग्यासका ६७ वटा सिलिन्डर भेटिएका छन्। त्यस्तै, होटलका चुलोमा करिब ७० वटा सिलिन्डर प्रयोग भइरहेको समेत पाइएको विभागले जनाएको छ।

उपभोक्ताका लागि बजारमा ग्यासको अभाव देखिएका बेला होटलले ठूलो परिमाणमा ग्यास मौज्दात राखेको पाइएपछि सम्बन्धित होटलमाथि कारबाहीको तयारी भइरहेको उद्योग मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बजारमा पर्याप्त ग्यास हुँदाहुँदै उपभोक्ताले अभाव झेल्नुपर्ने अवस्था अन्त्य गर्न होटल, व्यवसायिक प्रतिष्ठान तथा ग्यासको अनधिकृत भण्डारणमाथि निगरानीलाई थप कडाइ गर्ने जनाएको छ।

‘कांग्रेसका वैधानिक सभापति देउवा हुन्’

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको नेतृत्वका विषयमा देखिएको विवादलाई लिएर शेरबहादुर देउवा नै वैधानिक सभापति रहेको बताएका छन् ।

बिहीबार स्वदेश फर्किएका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पुगेका कोइरालाले सभापतिको जिम्मेवारीमाथि कुनै कानुनी रोकावट नरहेको दाबी गरे ।

उनले देउवाको नेतृत्वमा कांग्रेसलाई थप सुदृढ गर्दै पार्टीभित्रको विभाजन अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याए ।

कोइरालाका अनुसार देउवाको सभापतित्वलाई रोक्ने कुनै अदालतको आदेश नरहेकाले कांग्रेसको आधिकारिक नेतृत्व उनकै हातमा रहेको छ ।

पार्टीबाट अलग्गिएको पक्षसँग पनि संवाद र सहकार्य गर्दै सबैलाई पुनः एउटै मूलधारमा ल्याउनुपर्ने उनको धारणा छ ।

‘सानेपा कांग्रेस’ भनेर चिनिएको अलग्गिएको समूहलाई पनि पार्टीभित्र फर्किन आग्रह गर्दै कोइरालाले उनीहरू आउने वा नआउने निर्णय सम्बन्धित पक्षकै भएको बताए । तर, आफूहरूको प्राथमिकता भने कांग्रेसलाई एकताबद्ध बनाउनु रहेको उनले स्पष्ट पारे ।

उनले कांग्रेसभित्र देखिएका असन्तुष्टि र मतभेदलाई आपसी संवादबाट समाधान गर्नुपर्नेमा जोड दिए । लामो समयसम्म पार्टी विभाजन र विवादलाई निरन्तरता दिनुभन्दा सबै पक्षले लचकता अपनाएर साझा ठाउँ खोज्नुपर्ने उनको भनाइ छ ।

कोइरालाले कांग्रेसलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्ने बताए।

केन्द्रीय कार्यसमिति बैठक सुरु गर्दै गगनले गरे देउवाको स्वागत

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ।

बैठक सुरु गर्दै सभापति गगन थापाले स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गरेका छन्।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार थापाले देउवालाई स्वास्थ्य लाभको कामनासहित स्वदेश फर्किएकोमा स्वागत गरेका थिए।

देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए। त्यहाँ उपचारपछि थप उपचार तथा परामर्शका लागि हङकङ पुगेका उनी बिहीबार नेपाल फर्किएका हुन्।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि गम्भीर आक्रमण भएको थियो। त्यसपछि देउवा उपचारका लागि विदेश गएका थिए।

 

पद एउटै, पदाधिकारी छान्ने मापदण्ड फरक-फरक

काठमाडौं। देशभरका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, डीन र रजिस्ट्रारलगायत पदाधिकारी नियुक्तिका लागि प्रतिष्ठानअनुसार फरक-फरक मापदण्ड तय गरिएको पाइएको छ।

यसले पदाधिकारी छनोटमा एकरूपता, प्रतिस्पर्धा र वस्तुनिष्ठतामाथि प्रश्न उठाएको छ।

राप्ती, पाटन, चिकित्सा विज्ञान राष्ट्रिय, कर्णाली, बीपी कोइराला र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आ-आफ्नै कार्यविधि बनाएर पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढाएका छन्। अधिकांश प्रतिष्ठानले आवेदनसमेत आह्वान गरिसकेका छन्।

योग्यताका मापदण्डमा भने ठूलो अन्तर देखिन्छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्षका लागि सहप्राध्यापक तहमा कम्तीमा पाँच वर्षको अनुभव र प्राध्यापक पदको योग्यता तोकिएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्षका लागि प्राध्यापक तहमा पाँच वर्षको अनुभव वा स्वास्थ्य सेवाको १०औँ तहभन्दा माथि कम्तीमा आठ वर्षको अनुभव आवश्यक छ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा शिक्षाध्यक्षका लागि प्राध्यापक तहमा पाँच वर्ष काम गरेको र कुल आठ वर्षको प्राध्यापन अनुभव मागिएको छ। तर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष र डीनका लागि प्राध्यापक पदमा एक वर्षको अनुभव भए पुग्ने व्यवस्था गरिएको छ।

रजिस्ट्रारको हकमा पनि यस्तै असमानता देखिन्छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सहप्राध्यापक तहमा पाँच वर्षको अनुभव वा १०औँ तहमा आठ वर्षको अनुभव अनिवार्य गरेको छ। पाटनमा सहायक प्राध्यापक वा सोभन्दा माथि पाँच वर्षको अनुभव वा अधिकृत तहमा १० वर्षको अनुभव मागिएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने सहप्राध्यापक तहमा एक वर्षको अनुभव वा राजपत्राङ्कित द्वितीय श्रेणीमा पाँच वर्ष काम गरेको व्यक्ति पनि रजिस्ट्रारका लागि योग्य हुने व्यवस्था छ।

प्रतिष्ठानअनुसार योग्यता र अनुभवको सीमा यति फरक राखिएपछि समान प्रकृतिका शैक्षिक तथा प्रशासनिक पदमा नियुक्तिको मापदण्ड किन एकरूप हुन सकेन भन्ने प्रश्न उठेको छ।

‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं । स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू कुनै पद वा शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढीकरण र युवा पुस्ताको भावनालाई सम्बोधन गर्न सक्रिय हुने बताएका छन्।

देउवाले जारी गरेको अपिलमा वर्तमान सरकार जनअपेक्षा पूरा गर्न असफल भएको र जनताको मतको सम्मान गर्न नसकेको आरोप लगाएका छन्। उनले राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा जनमतको कदर गर्नुपर्नेमा जोड दिएका छन्।

युवा पुस्तामा देखिएको परिवर्तनको चाहना र असन्तुष्टिलाई कांग्रेसले गम्भीर रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै देउवाले पार्टीलाई समयअनुकूल रूपान्तरण गर्ने बताएका छन्। उनले नयाँ र पुरानो पुस्ताबीच सहकार्य आवश्यक रहेको पनि बताएका छन्।

२०३३ सालमा बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको प्रसंग स्मरण गर्दै देउवाले अहिले पनि मुलुकलाई सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन्।

कांग्रेस कार्यकर्तामा देखिएको निराशा हटाउँदै पार्टीलाई थप सुदृढ बनाउन आफू सक्रिय हुने उनको भनाइ छ। संविधानको संरक्षण र आवश्यक संशोधन राष्ट्रिय सहमतिबाट हुनुपर्ने बताउँदै उनले लोकतन्त्र र नागरिक अधिकारका पक्षमा कांग्रेसले सम्झौता नगर्ने स्पष्ट पारेका छन्।

आफूलाई व्यक्तिगत लाभ वा पदको चाहना नरहेको उल्लेख गर्दै देउवाले बाँकी जीवन राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको सेवामा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

देउवा स्वागतमा गगन पक्षका नेता

काठमाडौं। साढे पाँच महिनापछि स्वदेश फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेता तथा समर्थकको बाक्लो उपस्थिति देखिएको छ।

देउवालाई स्वागत गर्न कांग्रेसको संस्थापन इतर समूहका प्रभावशाली नेताहरूसँगै सभापति गगन थापा पक्षका केही नेतासमेत विमानस्थल पुगेका छन्।

विशेष महाधिवेशनमा थापा पक्षमा खुलेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ तथा थापाले केन्द्रीय सदस्यमा मनोनीत गरेका अजयकुमार चौरसिया पनि देउवाको स्वागतमा पुगेका थिए।

यद्यपि, थापा पक्षका अन्य प्रभावशाली नेताहरू भने विमानस्थलमा देखिएनन्।

देउवा गत फागुन १३ गते पत्नी आरजु राणासहित उपचारका लागि सिंगापुर गएका थिए। सिंगापुर र हङकङमा उपचार गराएका उनी थाइल्याण्ड हुँदै बिहीबार नेपाल फर्किएका हुन्। फर्किँदा भने देउवा एक्लै थिए।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतमा पुनः सुनुवाइ हुने भएपछि देउवाको स्वदेश फिर्तीलाई राजनीतिक रूपमा समेत अर्थपूर्ण रूपमा हेरिएको छ।

होल्डिङ सेन्टरमै सुकुम्बासीले गरे आत्महत्या

काठमाडौं। भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा राखिएका ६० वर्षीय हिरालाल पासवान बुधवार बिहान मृत फेला परेका छन्।

कृषि विकास बैंक तालिम केन्द्रमा बस्दै आएका पासवान हिजो दिउँसोदेखि कोठामै रहेको र बिहान झुण्डिएको अवस्थामा फेला परेको त्यहाँ रहेका सुकुम्बासीले बताएका छन्। घटनापछि प्रहरी टोली सेन्टर पुगेको छ।

सरकारले टहरा हटाएपछि विस्थापित सुकुम्बासीलाई उक्त होल्डिङ सेन्टरमा राखिएको छ।

यसअघि पनि टहरा भत्काइएपछि एक सुकुम्बासीले आत्महत्या गरेका थिए।

साढे पाँच महिनापछि नेपाल फर्किए शेरबहादुर देउवा

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका छन्।

स्वास्थ्य उपचारका लागि गत फागुन १३ गते श्रीमती आरजु राणासहित सिंगापुर गएका देउवा बिहीबार काठमाडौं आइपुगेका हुन्।

देउवा नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र झाँकीसहित स्वागत गरिएको थियो।

कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका नेता तथा कार्यकर्तासमेत उनको स्वागतका लागि विमानस्थल पुगेका थिए।

देउवा शुक्रबार सुकेधारास्थित पार्टी प्यालेसमा आयोजना हुने कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम रहेको छ।

उक्त भेलालाई कांग्रेसभित्रको आगामी राजनीतिक रणनीति र संगठनात्मक बहसबारे महत्वपूर्ण रूपमा हेरिएको छ।

किशोर श्रेष्ठको पक्राउप्रति शेखर कोइरालाको आपत्ति

काठमाडौं । समाचार लेखेकै आधारमा पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आपत्ति जनाएका छन्।

कोइरालाले समाचार लेखेको विषयलाई लिएर पत्रकारलाई पक्राउ गर्नु लोकतान्त्रिक व्यवस्थाका लागि सकारात्मक संकेत नभएको बताएका छन्।

उनले श्रेष्ठको पक्राउ संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत रहेको उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै कोइरालाले पत्रकार श्रेष्ठलाई तत्काल रिहा गर्न सरकारसँग आग्रह गरेका छन्। साथै, यस्ता गतिविधि नगर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

देउवाप्रति कांग्रेस सांसद गीता गुरुङकाे उच्च सम्मान, भनिन्- प्रेरणाकाे स्राेत

काठमाडाैं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाप्रति कांग्रेस सांसद गीता गुरुङले सँधै उच्च सम्मान रहने बताएकी छन् ।

हङकङबाट स्वदेश फर्किनुअघि देउवासँग विगतमा खिचेका तस्बिरहरु सामाजिक सञ्चालमा साझा गर्दै गुरुङले देउवालाई राजनीतिमा प्रेरणाकाे स्राेतकाे रुपमा पनि मानेकी छन् ।

देउवालाई मातृभूमिमा न्यायाे स्वागत भन्दै उनले उनकाे स्वास्थ्य र दीर्घजीवनकाे कामना गरिन् ।

कर्णाली, दलित, महिला, जनजाति र मधेशी अर्थात् ‘कदमजम’का प्रणेता देउवालाई लोकतान्त्रिक आन्दोलनका अथक योद्धा र समावेशी लोकतन्त्रका अभियन्ताका रूपमा चित्रित गर्दै सांसद गुरुङले नेपालको राजनीतिक इतिहासमा उनले पुर्‍याएकाे योगदान सदा अविस्मरणीय रहने बताइन् ।

इतिहासकाे कालखण्डमा जसले जे भने पनि लोकतन्त्र, सामाजिक न्याय र समावेशिताको यात्रामा उनले दिएकाे योगदानलाई इतिहासले नभुल्ने पनि गुरुङकाे भनाइ छ ।

 

देउवालाई स्वागत गर्न विमानस्थलमा नेता-कार्यकर्ताको भीड, तस्वीरमा हेर्नुहोस्

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचार सकेर आज नेपाल फर्किँदै छन्। देउवालाई स्वागत गर्न कांग्रेसको संस्थापन इतर समूहका नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने भएका छन्।

राष्ट्रिय भेला तयारी समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा नेताहरू विमानस्थल पुग्ने कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए। उनका अनुसार देउवा थाई एयरको विमानबाट आज दिउँसो १२ बजे काठमाडौं अवतरण गर्नेछन्।

देउवालाई स्वागत गर्न निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरू सहभागी भएका छन्।

देउवा स्वास्थ्य उपचारका लागि गत फागुनमा सिंगापुर गएका थिए। त्यहाँ उपचारपछि थप उपचारका लागि हङकङ पुगेका उनी त्यसपछि थाइल्याण्ड गएका थिए।

नेपाल फर्किएलगत्तै देउवा कांग्रेसको आन्तरिक गतिविधिमा सक्रिय हुने बताइएको छ। साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना हुने संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई पनि उनले सम्बोधन गर्ने कार्यक्रम रहेको विश्वकर्माले बताए।

तस्वीरहरू:



प्यूठानको माडी खोलामा पाँच शव फेला

काठमाडौं। प्यूठानको स्वर्गद्वारी नगरपालिका-९ जुडापाटस्थित माडी खोलाको किनारमा आज पाँच जनाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार ती शव रोल्पाको थबाङ गाउँपालिका-५ बोटलबारा क्षेत्रमा गएराति पहिरोमा परी बेपत्ता भएकाहरूको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

प्यूठानमा मानिस हराएको वा पहिरो गएको घटना नरहेकाले माथिल्लो क्षेत्र रोल्पाबाट बाढीले शव बगाएर ल्याएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डीएसपी नरहरि अधिकारीले बताए।

फेला परेका शवका तस्वीर रोल्पा प्रहरीलाई पठाइएको छ। तस्वीरका आधारमा शवको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

रोल्पा प्रहरीका अनुसार लुंगी खोला माडी खोलामा मिसिने भएकाले थबाङमा पहिरोमा परेका मानिस तथा शव बाढीले बगाएर प्यूठानसम्म ल्याएको हुनसक्ने सम्भावना छ।

रोल्पाको थबाङ-५ बोटलबारा क्षेत्रमा पहिरोले घर तथा गोठ पुरिँदा तीन जनाको मृत्यु भएको, दुई जना गम्भीर घाइते भएको र नौ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।

प्यूठानमा भेटिएका पाँच शव रोल्पाको पहिरोमा बेपत्ता नौ जनामध्येका हुन् वा होइनन् भन्नेबारे पहिचान तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

किशोर श्रेष्ठको रिहाइ माग गर्दै पत्रकार महासंघको धर्ना [तस्वीरहरू]

काठमाडौं। जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसर भद्रकालीमा धर्ना दिएको छ ।

समाचारसँग सम्बन्धित विषयलाई लिएर श्रेष्ठ पक्राउ परेको भन्दै महासंघले घटनाको विरोध गरेको हो ।

महासंघले पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने कार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठाउने जनाएको छ ।

प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्षसमेत रहेका श्रेष्ठलाई बुधबार राति ९ बजे ललितपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

उनको पक्राउको विरोधमा पत्रकार महासंघले तत्काल रिहाइको माग गर्दै धर्ना दिएको हो ।

तस्वीरहरू: 

एआईको दौडमा किन सुस्त जापान?

काठमाडौं। जापान प्रविधिका क्षेत्रमा संसारकै अग्रणी देशमध्ये पर्छ।

रोबोटिक्स, इलेक्ट्रोनिक्स र अटोमोबाइल प्रविधिमा लामो समयदेखि प्रभाव जमाएको जापान अहिले भने कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमा अपेक्षाकृत पछाडि देखिएको छ।

अझ रोचक कुरा, श्रमशक्ति घटिरहेको र जनसंख्या वृद्ध हुँदै गएको जापानलाई एआईको आवश्यकता अन्य धेरै देशभन्दा बढी छ।

आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) को तथ्याङ्कअनुसार जापानमा करिब ८.४ प्रतिशत कामदारले मात्र आफ्नो काममा एआई प्रयोग गर्छन्। अमेरिकामा यो दर ५० प्रतिशत र बेलायतमा ३२ प्रतिशत छ। सिंगापुरमा भने ५६ प्रतिशत कामदारले नियमित रूपमा एआई प्रयोग गर्ने गरेका छन्।

जापानी कम्पनीहरू प्रविधिविरोधी भने होइनन्। तर नयाँ प्रविधि अपनाउने उनीहरूको शैली निकै सावधानीपूर्ण छ। कुनै नयाँ प्रणाली प्रयोग गर्नुअघि लामो छलफल, परीक्षण र सहमति खोज्ने प्रवृत्तिले निर्णय प्रक्रियालाई ढिलो बनाउने गरेको देखिन्छ।

एआईको हकमा यो प्रवृत्ति झन् स्पष्ट छ। एआईले गलत सूचना दिन सक्छ, निर्णयमा त्रुटि गर्न सक्छ वा ग्राहकसँग सम्बन्धित काममा समस्या निम्त्याउन सक्छ भन्ने डरले कम्पनीहरू यसको प्रयोगमा सतर्क छन्।

त्यसैले जापानी कार्यस्थलमा एआईको प्रयोग अहिले मुख्यतः लेखन, सूचना खोजी, दस्तावेजको सारांश बनाउने र बैठकका विवरण तयार पार्ने जस्ता कम जोखिमका काममा सीमित छ। कम्पनीको मुख्य सञ्चालन, निर्णय प्रक्रिया वा जटिल काममा एआईको प्रयोग भने निकै कम छ।

जापानमा अहिले नै श्रमशक्तिको अभाव छ। धेरै उद्योगले आवश्यक जनशक्ति पाउन कठिनाइ भोगिरहेका छन्। यस्तो अवस्थामा एआईले कामदारको अभाव पूर्ति गर्न सक्छ।

तर यही प्रविधिले केही रोजगारी विस्थापित गर्न सक्ने चिन्ता पनि छ। जापानी कार्यसंस्कृतिमा रोजगारीको स्थायित्वलाई निकै महत्व दिइने भएकाले कम्पनीहरू एआई प्रयोग गरेर ठूलो मात्रामा कर्मचारीको भूमिका परिवर्तन गर्न हिचकिचाइरहेका छन्।

यसले एउटा विरोधाभास सिर्जना गरेको छ,कामदारको अभाव समाधान गर्न एआई आवश्यक छ, तर एआईका कारण रोजगारीमा पर्ने सम्भावित असरबाट पनि कम्पनीहरू डराइरहेका छन्।

एआई प्रयोगको अर्को ठूलो अवरोध जापानका पुराना कम्प्युटर प्रणाली हुन्। धेरै कम्पनी अझै दशकौँ पुराना सफ्टवेयर र डिजिटल पूर्वाधारमा निर्भर छन्।

नयाँ एआई प्रणालीलाई यस्ता पुराना संरचनासँग जोड्न सजिलो हुँदैन। त्यसका लागि कम्पनीले एआई मात्र होइन, आफ्नो सम्पूर्ण डिजिटल प्रणालीमा परिवर्तन गर्नुपर्ने हुन्छ।

स्वास्थ्य क्षेत्र यसको एउटा उदाहरण हो। जापानका केही अस्पतालमा बिरामीका अभिलेख अझै पूर्ण रूपमा डिजिटल भइसकेका छैनन्। आधारभूत तथ्यांक नै कागजी प्रणालीमा रहेको अवस्थामा अत्याधुनिक एआई प्रयोग गर्नु स्वाभाविक रूपमा कठिन हुन्छ।

एआई प्रयोग गर्न प्रविधि मात्र भएर पुग्दैन, त्यसलाई चलाउन र कामसँग जोड्न सक्ने जनशक्ति पनि चाहिन्छ। जापानमा यही जनशक्तिको अभाव अर्को चुनौती बनेको छ।

एक अनुमानअनुसार सन् २०३० सम्म जापानमा करिब आठ लाख आईटी विशेषज्ञको कमी हुन सक्छ। अर्थात् एआई प्रयोग गर्नुपर्ने बेला जापानसँग त्यसका लागि आवश्यक दक्ष जनशक्ति नै पर्याप्त नहुन सक्छ।

जापानी सरकार भने एआईलाई उत्पादकत्व बढाउने महत्वपूर्ण माध्यमका रूपमा हेर्दै आएको छ। एआई प्रवर्द्धनसम्बन्धी कानुन ल्याएर सरकारले निजी क्षेत्रलाई प्रविधिमा लगानी गर्न प्रोत्साहित गरिरहेको छ।

सरकारले जापानलाई एआई विकास र प्रयोगका लागि अनुकूल मुलुक बनाउने लक्ष्य पनि अघि सारेको छ। यसको मुख्य कारण आर्थिक हो। वृद्ध जनसंख्या र घट्दो श्रमशक्तिका कारण जापानले कम जनशक्तिबाट बढी उत्पादन गर्नुपर्ने दबाबमा छ।

सरकारी तथ्याङ्कअनुसार पाँच वर्षअघि करिब ११ प्रतिशत कम्पनीले एआई प्रयोग गर्ने गरेकोमा अहिले यो संख्या ७५ प्रतिशत पुगेको छ। तर कम्पनीले एआई प्रयोग गर्नु र त्यहाँका अधिकांश कर्मचारीले दैनिक काममा एआई प्रयोग गर्नु एउटै कुरा होइन। यही कारण कागजमा देखिएको प्रगति र कार्यस्थलमा देखिएको वास्तविक प्रयोगबीच ठूलो अन्तर रहेको आलोचकहरूको भनाइ छ।

परिवर्तनको संकेत भने जापानको नयाँ पुस्तामा देखिन थालेको छ। केही कम्पनीले नयाँ कर्मचारी नियुक्त गर्दा एआईसम्बन्धी ज्ञानलाई समेत महत्व दिन थालेका छन्।

युवा कर्मचारीले इमेल लेख्न, लामो दस्तावेज छोट्याउन, बैठक रेकर्ड गर्न तथा त्यसको सारांश बनाउन एआई प्रयोग गरिरहेका छन्। यसले विस्तारै जापानी कार्यालयको काम गर्ने शैली बदल्न थालेको संकेत गर्छ।

तर अमेरिका वा केही अन्य देशमा देखिएजस्तो आफैं कामको प्रक्रिया बुझेर धेरै चरणका कार्य सम्पन्न गर्न सक्ने एआई एजेन्टको प्रयोग जापानमा अझै सामान्य भइसकेको छैन।

[अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार गरिएको]

बीपी भन्थे – शेरे सुदूरपश्चिमका शेर

काठमाडाैं। शेरबहादुर देउवा राजधानीमा जन्मेनन्। उनी कोइराला परिवारमा पनि जन्मेनन्। उनी गणेशमान सिंहको आशीर्वाद पाएर नेता बनेका पनि होइनन्। उनलाई कृष्णप्रसाद भट्टराईको आशीर्वाद पनि थिएन। न त उनी पूर्वी पहाडको मध्यमवर्गीय परिवारमा जन्मिएका ब्राह्मण हुन्, न त मध्य नेपालमा जन्मिएका शिक्षित परिवारका सदस्य।

तर पनि देउवा देशको पाँच चोटी प्रधानमन्त्री बने। विद्रोहको बलमा। आफ्नै बलमा। लडेर। भिडेर।

देउवा बन्न धेरैलाई धेरै गाह्रो छ। ३१ जेठ २००३ मा सुदूरपश्चिम डडेल्धुराको आशिग्राममा जन्मिएका उनका लागि काठमाडौं पुगेर सिंगो कर्णाली र सुदूरपश्चिमलाई मूलधारको राजनीतिमा जोड्नु सायदै त्यति सजिलो थियो। आजको काठमाडौंमा सुदूर र कर्णालीका जति मानिसको उपस्थिति छ, त्यसको ठूलो श्रेय देउवालाई जान्छ। देउवाले सुदूर र कर्णालीलाई काठमाडौंसँग जोडेका मात्रै छैनन्, नेपाल भन्ने देशलाई कर्णालीपारि पनि अर्को नेपाल छ भन्ने देखाएका छन्।

अहिले सुदूरका धेरै मानिसहरूको घरअगाडि गाडी पुग्छ। लगभग धेरै जनसंख्याको घरमा बिजुली बल्छ। धेरै जनसंख्याको आँगनमा पानीको धारा बनेको छ। बडिमालिका, अपि, सैपाल, खप्तड-रामारोशनलगायतका ठाउँहरू देशकै पर्यटकीय गन्तव्य बन्ने चरणमा छन्। माथिल्लो कर्णाली, पश्चिम सेती, बुढीगंगा जलविद्युत् आयोजना, सेती लोकमार्ग जस्ता राष्ट्रिय गौरवका आयोजना निर्माणाधीन छन्।

सुदूरपश्चिमले सायदै भुल्न सक्छ-टनकपुरबाट नुन र चामल बोकेको। सुदूरका पहाडी जिल्लाहरूले सायदै बिर्सेलान्-धनगढीबाट हिँडेर पाँच/छ दिनको घरको यात्रा गरेको।

भलै सुदूरपश्चिम जति बन्नुपर्थ्यो, त्यति बनेन। भलै सुदूरका जनताले जे ‘डिजर्भ’ गर्थे, त्यो पाएका छैनन्। तर, नेपाल भन्ने राज्यले ‘सुदूरपश्चिम भन्ने पनि ठाउँ छ र!’ भन्ने बेलामा डडेल्धुराबाट आएर वर्षौंसम्म नेपाली राजनीतिको मूल मियो बन्दै देउवाले सुदूरपश्चिमलाई जे दिएका छन्, त्यो पनि कम भने छैन।

आजको देउवा धेरैलाई बूढो लाग्दो होला। धेरैलाई काम नलाग्ने लाग्दो होला। अझ धेरैले मरे पनि हुन्थ्यो भन्ने कामना पनि बसिरहेकै होलान्। तर देउवाले सुदूरपश्चिमका लागि र नेपालको लोकतान्त्रिक आन्दोलनमा जुन लडाइँ लडेका छन्, त्यो सानोतिनो लडाइँ भने होइन।

हुन त देउवा सजिलो बाटो हिँड्नै चाहँदैनथे। उनले सजिलोमाथि अप्ठ्यारो रोजे। २०१७ सालमा सदियौँदेखि राज्यले उपेक्षा गरेको भूगोल सुदूरपश्चिमबाट प्रजातन्त्र र लोकतन्त्र भन्दै राजनीतिमा लाग्नु कुनै सजिलो कार्य पक्कै होइन। त्यो पनि भर्खर पञ्चायत लागू भएको बेलामा। तत्कालीन राजा महेन्द्रले विसं २०१७ साल पुस १ गते नेपालमा पञ्चायती शासन लागू गरे। त्यही वर्ष देउवाले राजनीतिमा प्रवेश गरेका तथ्यांकहरू इतिहासमा भेटिन्छन्।

२०२७ सालमा देउवा विद्यार्थी राजनीतिमार्फत नेपाल विद्यार्थी संघको सभापति बने। जतिबेला नेपाल पञ्चायती शासनको चरम उत्कर्षमा थियो। त्यही बेला देउवाले विद्यार्थी संघको राजनीतिमार्फत नेपालमा प्रजातन्त्र पुनःस्थापना र लोकतन्त्र प्राप्तिको आन्दोलन चर्काए।

प्राथमिक शिक्षा गृहजिल्ला डडेल्धुरामै हासिल गरेका देउवाले माध्यमिक शिक्षा डोटीमा पूरा गरेका हुन्। त्यसपछि उच्च शिक्षाका लागि काठमाडौं हानिएका उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुन विषयमा स्नातकसम्मको अध्ययन पूरा गरेका छन्।

भनिन्छ-तत्कालीन पञ्चायती शासनविरुद्धको लडाइँमा चर्को बोल्ने गरेकै कारण शासकहरूले उनको जिब्रोमा करेन्ट लगाइदिए। सुदूरपश्चिमबाट आएर राजधानीमा चर्को संघर्ष र निरंकुशताविरुद्धको कठोर लडाइँ लड्ने गरेकै कारण नेपाली कांग्रेसका सर्वोच्च नेता बीपी कोइरालाले उनको नाम राखिदिएका थिए-‘शेरे सुदूरपश्चिम’।

राजनीतिक जीवनको उत्तरार्द्धमै देउवा बीपीका प्रिय पात्र थिए। भनिन्छ-बीपीले आफू जाने सबै कार्यक्रममा देउवालाई पनि लैजान्थे। बीपीकै छत्रछायामा उनी नेपाल विद्यार्थी संघको दुईपटक निर्विरोध अध्यक्षसमेत निर्वाचित बने।

सुरुवाती दिनहरूमा गिरिजाप्रसाद कोइरालासँग पनि देउवाको राम्रै सम्बन्ध रहेको बताइन्छ। तर, २०४८ सालको चुनावमा गिरिजा पक्षबाट तत्कालीन चुनावी सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराउनुपर्ने प्रस्ताव अस्वीकार गरेपछि कोइरालासँग उनको सम्बन्ध बिग्रिँदै गयो। यद्यपि, उक्त चुनावमा भट्टराई भने पराजित भएका थिए।

देउवा नयाँ नेपाली कांग्रेसको पनि सूत्रधार हुन्। २००० को दशकमा राजनीतिक रूपमा स्थापित नेपाली कांग्रेस ६० दशकसम्म आइपुग्दासम्म कोइराला परिवारको एकछत्रीय छायामा थियो। तर, २०५९ सालमा देउवाले पार्टीभित्र पनि विद्रोह गरे। उनले कोइराला परिवारको हातमा रहेको नेपाली कांग्रेसलाई विभाजित गर्दै नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरे र आफैँ सभापति बने। यो आधुनिक कांग्रेस निर्माणको प्रस्थानबिन्दु पनि हो।

आजको दिनमा नेपाली कांग्रेस विभाजित हुने अवस्थामा छ। नेपाली कांग्रेसको नेतृत्वमा गगन थापा विराजमान छन्। अर्कोतिर देउवा पक्षले छुट्टै कार्यक्रम गर्दै थापालाई चुनौती दिइरहेको छ। आजको कांग्रेस जस्तो भए पनि कांग्रेस नेतृत्वमा थापाका लागि मञ्च तयार गरिदिने ठूलो श्रेय देउवालाई नै जान्छ। देउवाकै विद्रोहको बलमा थापा, विश्वप्रकाश शर्मा, प्रदीपकुमार पौडेललगायतको युवा पुस्ताले विशेष महाधिवेशन गर्ने आँट गरेको हो।

संसदीय राजनीतिमा देउवाले लडेको पहिलो निर्वाचन २०४८ सालमा हो। आमनिर्वाचनमा डडेल्धुराबाट लडेका उनले पहिलो निर्वाचनमै जित हासिल गरे। २०४८ सालमै उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्रीसमेत बने। त्यसयता भएका ६ वटा निर्वाचनमा समेत उनले पराजय बेहोर्नु परेन। २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सम्मका सबै निर्वाचनमा देउवा डडेल्धुराबाट निर्वाचित हुँदै आए।

कम बोल्ने स्वभावका देउवा अत्यावश्यक विषयमा मात्रै बोल्ने गरेका छन्। व्यवहारिक रूपमा निकै लचकदार बन्न सक्ने उनको सरलताभित्रको चतुरता उनको सबैभन्दा ठूलो राजनीतिक हतियार पनि हो भनेर विश्लेषण गर्नेहरूको जमात पनि ठूलो छ।

देउवा पहिलोपटक विसं २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भए। कांग्रेसभित्र रामचन्द्र पौडेल, खुमबहादुर खड्का, शैलजा आचार्यलाई उनका निकटतम प्रतिस्पर्धीका रूपमा हेरिने गर्थ्यो। तर, २०५२ सालमा प्रधानमन्त्री बनेपछि भने यो उनको राजनीतिक जीवनको टर्निङ पोइन्ट बन्यो। विसं २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री भएका थिए।

सोही वर्ष असोज १८ गते उनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले पदबाट बर्खास्त गरेका थिए। प्रधानमन्त्री देउवा २०६१ साल जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बनेपछि राजा ज्ञानेन्द्रले उनलाई २०६१ साल माघ १९ गते पुनः पदबाट बर्खास्त गरेका हुन्।

पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस (प्रजातान्त्रिक) को उनी सभापति बनेका थिए। पछि विसं २०६४ मा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) को एकतापछि उनी पार्टीको वरिष्ठ नेता भएका थिए। त्यसपछि विसं २०७२ फागुन २४ मा सम्पन्न कांग्रेसको १३औँ महाधिवेशनमा उनी सभापतिमा निर्वाचित भएका थिए।

पञ्चायती व्यवस्थाविरुद्धको संघर्षदेखि बहुदलीय प्रजातन्त्र स्थापना, सशस्त्र द्वन्द्व, राजतन्त्रको अन्त्य र संघीय गणतन्त्रको अभ्याससम्मका लगभग सबै राजनीतिक घुम्ती र मोड छिचोल्दै देउवा नेपाली राजनीतिको अग्रस्थानमै रहे। तर, गत २३ र २४ भदौमा भएको जेन–जी विद्रोहका क्रममा युवाहरूको आक्रमणमा परेका उनी देखिने गरी नेपाली राजनीतिमा सक्रिय छैनन्।

६ दशक लामो राजनीतिक संघर्षका बाबजुद आफ्नै पार्टीबाट देउवा अपमानपूर्ण ढंगले बहिर्गमित हुनुपर्यो। आफैँले थापनी गरेको गमलामा हुर्केका गगन थापा र विश्वप्रकाश शर्माहरूले उनलाई पार्टीबाट अपदस्थ गरे। यही कारण पनि सात पटक संसदीय चुनाव जितेका उनले गएको चुनावमा उम्मेदवार मात्रै हैन, मतदानसमेत गरेनन्।

जेन–जी विद्रोहपछि देउवा उपचारका लागि सिंगापुर गए। करिब १८ दिनको उपचारपछि उनी २८ कार्तिकमा स्वदेश फर्किएका थिए। त्यसपछि तीन महिना उनी भूमिगतजस्तै बनेका उनले २१ फागुनको निर्वाचनको वातावरण बनाउन पनि महत्वपूर्ण भूमिका खेले। तर, चुनावको मुखैमा मतदानसम्म नगरेर १४ फागुनमा भने उनी फेरि सिंगापुरका लागि उडे। सिंगापुरबाट उपचारकै लागि भन्दै हङकङ पुगेका उनी हाल थाइल्याण्डको बैंककमा छन्।

यता नेपाली कांग्रेस भने अहिले दुईतिर छ। एकातिर थापा नेतृत्वको कांग्रेस आफ्नै गतिविधिमा छ भने अर्कोतिर देउवा पक्षले बीपीपुत्र शशांक कोइरालाको नेतृत्वमा राष्ट्रिय भेलाको आयोजना गरेको छ। त्यसैको लागि पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा पनि २८ साउनमा नेपाल फर्किँदै छन्। २९ देखि ३१ साउनसम्म कोइराला नेतृत्वमा देउवा पक्षीय कांग्रेसको राष्ट्रिय भेला हुँदैछ।

५० दशकदेखि नेपाली राजनीतिको केन्द्रभागमा रहेका देउवाको हुन लागेको स्वदेश फिर्तीले नेपाली राजनीतिक वृत्त भने तरंगित छ। नेपाली राजनीतिका जानकार तथा विश्लेषकहरूले देउवाको फिर्तीलाई पुनः नेपाली राजनीतिको केन्द्रमा रहनेदेखि दुई धारमा विभाजित कांग्रेसलाई एक बनाउने अवसर हुनेसम्मका विश्लेषण गरिरहेका छन्। कतिसम्म भने कतिपयले त २०३३ सालमा बीपीले मेलमिलापको नीति ल्याएर स्वदेश फर्केजस्तै देउवाले पनि सम्पूर्ण राजनीतिक सेटअप गरेर कुनै न कुनै ठूलो भुइँचालो सिर्जित हुने गरी स्वदेश फर्किन लागेको पनि बताइरहेका छन्।

२५ स्पामा प्रहरी छापा, १२ जना पक्राउ

काठमाडौं। रुपन्देहीको बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिका क्षेत्रमा सञ्चालित २५ वटा मसाज सेन्टर तथा स्पामा गरिएको अनुगमनका क्रममा प्रहरीले अमर्यादित गतिविधिमा संलग्न भएको आरोपमा १२ जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बुटवलको नेतृत्वमा मंगलबार गरिएको अनुगमनमा सात महिला र पाँच पुरुषलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा स्पा सञ्चालक, कर्मचारी तथा सेवाग्राही रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार स्वास्थ्य तथा सुरक्षाका न्यूनतम मापदण्ड पालना नगरी स्पा सञ्चालन भइरहेको जनगुनासो आएपछि अनुगमन गरिएको हो।

उनका अनुसार कानुनी रूपमा दर्ता भएका कतिपय स्पामा समेत भित्री गतिविधि स्वास्थ्य तथा सुरक्षाका दृष्टिले मापदण्डअनुकूल नदेखिएको पाइएको छ। केही सञ्चालकलाई भने पहिलो चरणमा आवश्यक सुधारका लागि सुझाव दिइएको प्रहरीले जनाएको छ।

बुटवल र तिलोत्तमा क्षेत्रमा हाल करिब ७० वटा स्पा सञ्चालनमा रहेको र नयाँ दर्ता हुने क्रमसमेत बढिरहेको प्रहरीले जनाएको छ। विशेषगरी शुक्रबार, शनिबार र आइतबार भारतबाट आउने सेवाग्राहीका कारण स्पामा चाप बढ्ने गरेको पाइएको छ।

खुला सीमा भएकाले रुपन्देहीसँगै कपिलवस्तु र नवलपरासीका विभिन्न क्षेत्रबाट समेत भारतीय नागरिक सहजै बुटवल–तिलोत्तमा आउने गरेका छन्। प्रहरीले पहिलोपटक यस क्षेत्रमा ठूलो संख्यामा स्पामा एकैपटक अनुगमन गरेको जनाएको छ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एनसेलको १४ पटक शेयर किनबेच, अफसोर कारोबारमा गम्भीर आशंका

काठमाडौं। सरकारले एनसेल आजियाटाको शेयर खरिद-बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्दै कम्पनीको स्थापना भएयताका स्वामित्व परिवर्तन, अफसोर कारोबार, लाभांश प्रवाह, कर दायित्व र पछिल्लो शेयर बिक्री प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ।

पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदन मन्त्रिपरिषद्को निर्णयपछि सार्वजनिक गरिएको हो। सरकारले प्रतिवेदनमा उल्लेख गरिएका सुझाव कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ।

समितिका अनुसार साविकको स्पाइस सेलका रूपमा विसं २०५८ मा स्थापना भएदेखि एनसेलमा हालसम्म १४ पटक शेयर तथा स्वामित्व कारोबार भएको छ। तीमध्ये अधिकांश कारोबार नेपालबाहिर रहेका अफसोर संरचनामार्फत भएको र त्यससम्बन्धी सम्पूर्ण अभिलेख तथा विवरण नेपाली नियामक निकायमा पेस भएको नदेखिएको प्रतिवेदनमा उल्लेख छ।

कतिपय नेपाली शेयरधनीको कारोबारको भुक्तानीसमेत नेपालको बैंकिङ प्रणालीबाहिर भएको देखिएको समितिको निष्कर्ष छ। यसले एनसेलको स्वामित्व कारोबार र वित्तीय गतिविधिको पारदर्शितामाथि प्रश्न उठाएको छ।

समितिले एनसेलको पछिल्लो शेयर खरिद–बिक्री सम्झौतालाई पनि स्वाभाविक व्यावसायिक कारोबारका रूपमा स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको छ।

आजियाटा ग्रुप बर्हाड मलेसिया र स्पेक्ट्रलाइट यूकेबीच १ डिसेम्बर २०२३ मा भएको सम्झौता प्रचलित नेपाली कानूनअनुसार आवश्यक पूर्वस्वीकृति नलिई गरिएको समितिको ठहर छ।

सम्झौतामा प्रारम्भिक प्रतिफल पाँच करोड अमेरिकी डलर राखिएको थियो। त्यसको पहिलो किस्ता ५० लाख डलर र बाँकी रकम चार वर्षभित्र भुक्तानी गर्ने व्यवस्था थियो। यसबाहेक विभिन्न वर्षको लाभांशको निश्चित हिस्सा पनि भुक्तानी गर्नुपर्ने तथा सम्भावित अन्य दायित्वसमेत खरिदकर्ताले व्यहोर्नुपर्ने प्रावधान रहेको प्रतिवेदनमा उल्लेख छ।

यस्ता प्रावधानका कारण कारोबारको वास्तविक मूल्य यकिन गर्न कठिन भएको समितिले जनाएको छ। एनसेलको व्यावसायिक मूल्य करिब ४० देखि ४५ करोड अमेरिकी डलर रहेको दाबी गरिए पनि शेयर खरिद–बिक्री सम्झौता र कम्पनीको वित्तीय विवरणसँग उक्त मूल्य मेल नखाने समितिको निष्कर्ष छ।

समितिले शेयर बिक्रीपछि पनि विक्रेताले लामो समयसम्म लाभांश प्राप्त गर्न सक्ने, मुद्दा मामिलामा सहभागी हुन सक्ने तथा कम्पनीका केही दायित्वबाट अलग रहनेजस्ता प्रावधानलाई असामान्य मानेको छ।

सम्झौताको संरचना समान व्यावसायिक व्यवहारमा आधारित नदेखिएको र विक्रेता पक्ष हावी भएको समितिको विश्लेषण छ। कतिपय व्यवस्थाले शेयर बिक्रीपछि पनि विक्रेताको एनसेलमाथि अप्रत्यक्ष प्रभाव कायम रहन सक्ने अवस्था देखाएको प्रतिवेदनमा उल्लेख छ।

सम्झौतामा स्मार्ट टेलिकमसम्बन्धी प्रावधानसमेत रहेको भन्दै समितिले एनसेल र स्मार्ट टेलिकमका शेयरधनीबीच सम्भावित आर्थिक हित तथा क्रसहोल्डिङबारे थप अनुसन्धान आवश्यक रहेको औँल्याएको छ।

समितिका अनुसार एनसेलले नेपालमा व्यवसाय सुरु गरेदेखि प्रविधिसहित आठ करोड अमेरिकी डलर विदेशी र दुई करोड डलर स्वदेशी लगानी गरेको उल्लेख छ। सो अवधिमा कम्पनीले एक खर्ब १३ अर्ब ५८ करोड रुपैयाँ नाफा कमाएको र ९३ अर्ब ५० करोड रुपैयाँ लाभांश घोषणा गरेको प्रतिवेदनमा उल्लेख छ।

घोषित लाभांशमध्ये ६६ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी रकम विदेश लगिएको र स्वदेशी शेयरधनीले १९ अर्ब २५ करोड रुपैयाँ लाभांश प्राप्त गरेको समितिको विवरण छ।

एनसेलले कर तथा गैरकर राजस्वबापत नेपाल सरकारलाई करिब तीन खर्ब दुई अर्ब रुपैयाँ बुझाएको पनि प्रतिवेदनमा उल्लेख छ। कम्पनीको सञ्चालन नाफा अन्य मुलुकका दूरसञ्चार कम्पनीको तुलनामा समेत उच्च रहेको समितिको विश्लेषण छ।

आजियाटाले इन्डोनेसिया, बंगलादेश र श्रीलंकालगायत देशमा सञ्चालन गरेका दूरसञ्चार व्यवसायको तुलनामा नेपालमा करपछिको मुनाफा प्रतिशत बढी रहेको भन्दै नेपालमा व्यावसायिक वातावरण प्रतिकूल रहेको आजियाटाको दाबी तथ्यमा आधारित नरहेको समितिको निष्कर्ष छ।

प्रतिवेदनअनुसार हाल एनसेलमा करिब ८० प्रतिशत विदेशी र २० प्रतिशत स्वदेशी लगानी रहेको छ। २०७७ साउन १९ गते कम्पनीका थप सात कर्मचारीलाई ११ कित्ता शेयर बिक्री गरी पब्लिक लिमिटेडमा परिणत गरिएको प्रक्रियासमेत समितिले स्वाभाविक नदेखिएको जनाएको छ।

कम्पनीले नेपालमा मोबाइल सेवा सञ्चालन गर्दै एक करोड ३० लाखभन्दा बढी सिमकार्ड वितरण गरेको विवरणसमेत प्रतिवेदनमा छ।

त्यस्तै, एनसेलले नेपाल सरकारलाई तिर्नुपर्ने कर तथा गैरकर दायित्वतर्फ ८५ अर्ब रुपैयाँभन्दा बढी रकमसम्बन्धी विवाद विभिन्न अदालत तथा निकायमा विचाराधीन रहेको समितिले जनाएको छ।

आजियाटाले अन्तर्राष्ट्रिय लगानी विवाद समाधान केन्द्र (आईसीएसआईडी) मा नेपालविरुद्ध दाबीसमेत गरेको विषयलाई समितिले अध्ययन गरेको छ।

नेपालले स्वच्छ तथा समान व्यवहार नगरेको, लगानीकर्ताको वैधानिक अपेक्षा उल्लङ्घन गरेको तथा न्याय दिन अस्वीकार गरेको लगायतका दाबी आजियाटाले गरेको थियो। तर आईसीएसआईडी ट्रिबुनलले नेपालका न्यायिक निकायबाट दावीकर्तालाई स्वच्छ सुनुवाइको अवसर दिइएको भन्दै ती दाबी स्थापित नभएको निष्कर्ष निकालेको समितिको प्रतिवेदनमा उल्लेख छ।

समितिले एनसेलको पछिल्लो शेयर बिक्रीमा मात्र अनुसन्धान सीमित नगरी कम्पनी स्थापनादेखिका स्वामित्व परिवर्तन र वित्तीय कारोबारसमेत अध्ययन गर्नुपर्ने सुझाव दिएको छ।

विशेषगरी अफसोर कारोबार, लाभांश प्रवाह, विदेशी लगानी, कर तथा गैरकर दायित्व, सम्भावित क्रसहोल्डिङ र कारोबार मूल्यबारे थप अनुसन्धान आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।

समितिले विगतका कारोबारमा राजस्व चुहावट, विदेशी मुद्रा अपचलन तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित सम्भावित विषय हुनसक्ने भन्दै सम्बन्धित निकायबाट अनुसन्धान गर्नसमेत सुझाव दिएको छ।

समितिले पछिल्लो शेयर खरिद–बिक्री सम्झौतालाई यथास्थितिमा स्वीकार नगर्न सरकारलाई सुझाव दिएको छ। खरिदकर्ता कम्पनीको प्राविधिक, वित्तीय तथा व्यवस्थापकीय क्षमता पुष्टि हुने पर्याप्त कागजातसमेत पेश नभएको समितिको ठहर छ।

सरकारले निर्णय गर्दा खरिदकर्ताको लगानीको स्रोत, सञ्चालकहरूको व्यावसायिक पृष्ठभूमि, सम्भावित क्रसहोल्डिङ, कारोबारको वास्तविक मूल्य र विदेशी लगानीको प्रभाव अध्ययन गर्नुपर्ने सुझाव दिइएको छ।

त्यसैगरी दूरसञ्चार क्षेत्रको संवेदनशीलता, सेवा सञ्चालनको निरन्तरता, विदेशी लगानीको वातावरण, पक्षहरूको कानुनी अनुपालन, सम्झौताका शर्त तथा अदालतका आदेशलाई समेत आधार बनाएर निर्णय लिन समितिले भनेको छ।

समितिले दूरसञ्चार ऐन, २०५३ को दफा ३३ अनुसार अनुमतिपत्रको २५ वर्षे अवधि समाप्त भएपछि विदेशी लगानीको अवस्थाअनुसार दूरसञ्चार सेवासँग सम्बन्धित सम्पत्ति, भवन, उपकरण तथा संरचनामा नेपाल सरकारको स्वामित्व सुनिश्चित हुने व्यवस्था कार्यान्वयन गर्न सुझाव दिएको छ।

प्रतिवेदनले नेपालको दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रमा ठूलो परिवर्तन आइसकेकाले सरकारी तथा नियामकीय निकायको पुनर्संरचना आवश्यक रहेको औँल्याएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरणलगायत निकायको नियामकीय क्षमता बढाउनुपर्ने र नयाँ प्रविधि आत्मसात् गर्नसक्ने गरी कानुनी सुधार आवश्यक रहेको समितिको सुझाव छ।

रेडक्रसको संशोधित विधान कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं। नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को संशोधित विधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिलबहादुर बुढाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसहित सम्बन्धित निकायलाई विपक्षी बनाई दायर गरिएको रिटमा सर्वोच्चले संशोधित विधान कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

अदालतले नवगठित तदर्थ समितिलाई मन्त्रालयले दिएको कार्यादेशमा विधान संशोधन गर्ने अधिकार स्पष्ट रूपमा नदिइएको विषयलाई समेत आदेशमा उल्लेख गरेको छ। तदर्थ समितिले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर विधान संशोधन गरेको दाबी रिट निवेदकको थियो।

सरकारले डा. विशाल भण्डारीको नेतृत्वमा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन गरेको थियो। उक्त समितिले संशोधित विधान तयार गरी कार्यान्वयनमा ल्याउन खोजेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको हो।

मन्त्रालयले तदर्थ समितिलाई असार ३ गते दिएको कार्यादेशमा नेपाल रेडक्रसको विद्यमान समस्या समाधानका लागि विधान संशोधन गर्ने विषय समावेश थियो।

कार्यादेशमा संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीका मान्यताअनुसार विधान संशोधन गरी समाज कल्याण ऐन, २०४९ को दफा २० को उपदफा ३ बमोजिम तीन महिनाभित्र संस्थाको विधानअनुसार नयाँ कार्यसमिति गठन गर्न अनुरोध गरिएको थियो।

गृहमा १२९ दरबन्दी थपिँदा सहसचिव ९ घटे

काठमाडौं। गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम)-२०८३ स्वीकृत गर्दै मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा कर्मचारीको दरबन्दी पुनर्मिलान गरेको छ।

नयाँ संरचनाअनुसार मन्त्रालयको कुल दरबन्दी ४ हजार ४८२ बाट बढाएर ४ हजार ६११ पुर्‍याइएको छ।

नयाँ व्यवस्थामा उच्च तहका सहसचिवको दरबन्दी घटाइएको छ भने उपसचिव, शाखा अधिकृत, नायब सुब्बा, खरिदारलगायत तल्ला तहका कर्मचारीको संख्या बढाइएको छ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार सहसचिवको दरबन्दी ७५ बाट घटाएर ६६ कायम गरिएको छ। अर्थात् सहसचिवका नौ दरबन्दी कटौती भएका छन्। सचिवको एक दरबन्दी भने यथावत् राखिएको छ।

यसैगरी उपसचिवको दरबन्दी १५५ बाट बढाएर १६१ पुर्‍याइएको छ। उपसचिवतर्फ ६ दरबन्दी थप भएका छन्।

नयाँ ओएण्डएमअनुसार शाखा अधिकृतका ५३ दरबन्दी थप गरिएको छ। यसअघि ५९१ रहेको शाखा अधिकृतको दरबन्दी अब ६४४ पुगेको छ।

नायब सुब्बाको दरबन्दी १ हजार ३७० बाट बढाएर १ हजार ४२१ पुर्‍याइएको छ। यस पदमा ५१ दरबन्दी थप भएका छन्।

त्यस्तै खरिदारको दरबन्दी ७१४ बाट बढाएर ७१७ कायम गरिएको छ। खरिदारतर्फ तीन दरबन्दी थप गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवातर्फ पनि आठ दरबन्दी थप भएका छन्। यसअघि १३८ रहेको स्वास्थ्य सेवाको दरबन्दी अब १४६ पुगेको छ।

श्रेणीविहीन कर्मचारीका १७ दरबन्दी थप गरिएको छ। यसअघि १ हजार ४३८ रहेको यस्तो दरबन्दी अब १ हजार ४५५ पुगेको छ।

गृह मन्त्रालयले नयाँ ओएण्डएम प्रतिवेदन स्वीकृत गरिसकेको भए पनि त्यसअनुसारको दरबन्दी संरचना तत्काल कार्यान्वयनमा भने आइसकेको छैन।

मन्त्रालयको प्रशासन महाशाखाका अनुसार अब आवश्यक प्रक्रिया पूरा गरी नयाँ दरबन्दी संरचना कार्यान्वयनमा लगिनेछ।

यसरी नयाँ संगठन संरचनाले गृह मन्त्रालयमा समग्र कर्मचारी संख्या बढाए पनि सहसचिवजस्तो उच्च प्रशासनिक तहको दरबन्दी घटाएको छ।

लाल सागरमा हुथीको रौद्र रूप, जहाज आक्रमणमा ६ को मृत्यु

काठमाडौं । लाल सागरको बाब अल-मन्डेब जलडमरूमध्यमा हुथी विद्रोहीले मालवाहक जहाजमाथि गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ।

रोयटर्सका अनुसार मंगलबार ‘तिहामाह’ नामक मालवाहक जहाजलाई लक्षित गरी गरिएको आक्रमणमा चालक दलका चार सदस्यको ज्यान गएको हो। मृतकमध्ये तीन जना पाकिस्तानी र एक जना इन्डोनेसियाली नागरिक रहेको बताइएको छ। घटनास्थलमा उद्धारका लागि पुगेका हुथीविरोधी यमनी समूहसँग आबद्ध दुई उद्धारकर्मीसमेत मारिएका छन्।

आक्रमणमा थप १० जना घाइते भएको प्रारम्भिक विवरणमा उल्लेख छ। हुथीहरूले जहाजमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि आगलागी भएको थियो।

उद्धार तथा अनुसन्धानका लागि टोली घटनास्थल पुगेपछि पनि जहाजमाथि पुनः आक्रमण भएको अधिकारीहरूले बताएका छन्। दोस्रो आक्रमणका कारण उद्धारमा खटिएका कर्मचारीसहित जहाजमा रहेका अन्य व्यक्तिको ज्यान जोखिममा परेको थियो।

प्रारम्भिक विवरणमा ‘तिहामाह’ साउदी स्वामित्वको जहाज रहेको बताइएको थियो। तर, जहाजको ट्र्याकिङ तथा समुद्री अभिलेखका आधारमा यो इजिप्ट र यमनमा दर्ता भएका कम्पनीसँग सम्बन्धित रहेको देखिएको रोयटर्सले जनाएको छ।

यो घटना सन् २०२६ मा इरानसँग युद्ध सुरु भएयता हुथी समूहले व्यावसायिक पानीजहाजलाई लक्षित गरी गरेको पहिलो पुष्टि भएको घातक आक्रमण भएको बताइएको छ।

लाल सागर हुँदै बाब अल–मन्डेब जलडमरूमध्य विश्व व्यापारका लागि महत्वपूर्ण समुद्री मार्ग हो। यहाँ व्यावसायिक जहाजमाथि भएको पछिल्लो आक्रमणले अन्तर्राष्ट्रिय समुद्री यातायातको सुरक्षा र विश्वव्यापी आपूर्ति शृंखलामाथि थप जोखिम बढाएको छ।

कोप-३१ मा सहभागी हुन बालेनलाई टर्कीका राष्ट्रपतिको निम्तो

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप-३१ मा सहभागी हुन निमन्त्रणा आएको छ।

परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालका अनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमन्त्री शाहलाई सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाएका हुन्।

मन्त्रालयमा प्राप्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको ढकालले जानकारी दिए। अब प्रधानमन्त्रीको सहभागिताबारे आवश्यक निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हुने बताइएको छ।

कोप-३१ आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुँदैछ।

सम्मेलनमा जलवायु परिवर्तनका असर, अनुकूलन, जलवायु वित्त तथा विश्वव्यापी तापक्रम वृद्धिका विषयमा विभिन्न देशका प्रतिनिधिबीच छलफल हुने अपेक्षा गरिएको छ।