`

ई-पासपोर्ट खरिद प्रकरण : आरोपको एपिसेन्टरमा ‘देउवा परिवार’

काठमाडौं। ई-पासपोर्ट खरिद प्रकरणले प्रशासनिक प्रक्रिया, सरकारी निर्णय र राजनीतिक आरोप-प्रत्यारोपलाई एकैसाथ ल्याएको छ। 

यो प्रकरणसँगै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाको नाम पनि विभिन्न कोणबाट जोडिएपछि यसको राजनीतिक आयाम थप गहिरिएको हो ।

गत भदौमा भएको जेनजी घटनापश्चात् देउवा परिवार विभिन्न विदेश हानिएपछि आरोपको केन्द्रमा पर्दै आएको छ। हाल पूर्वप्रधानमन्त्री देउवा र आरजु राणा विदेशमै रहेका छन्। आरजुले विशेष अदालत तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्र पठाएर निर्धारित समयभित्र स्वदेश फर्की अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् ।

यद्यपि यसबीच ई-पासपोर्ट खरिद प्रक्रियासम्बन्धी विवादले उनीहरूमाथि थप दबाब सिर्जना गरेको चर्चा भइरहेको छ।

ई-पासपोर्ट खरिद प्रकरणको नालीबेली ?

ई-पासपोर्ट खरिद प्रक्रिया २०८१ मंसिरमा राहदानी विभागले पाँच वर्षका लागि ६४ लाख ई-पासपोर्ट खरिद गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेसँगै सुरु भएको थियो। बोलपत्र मूल्यांकनपछि २०८२ जेठ २३ गते करिब ७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ठेक्का दुई जर्मन कम्पनीलाई दिने आशयपत्र जारी गरियो र सोही दिन ठेक्का सम्झौतासमेत सम्पन्न भयो।

यस प्रक्रियामा लामो समयदेखि नेपाललाई पासपोर्ट उपलब्ध गराउँदै आएको फ्रान्सेली कम्पनी आइडिमिया पनि प्रतिस्पर्धामा थियो। स्रोतहरूका अनुसार ठेक्का प्रक्रियामा जर्मन र फ्रान्सेली कम्पनीबीच तीव्र प्रतिस्पर्धा भएको थियो। यही प्रतिस्पर्धा र त्यससँग जोडिएका विभिन्न स्वार्थ नै अहिलेको विवादको मुख्य आधार बनेको दाबी गरिन्छ।

स्रोतको भनाइअनुसार त्यतिबेला प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले लामो समयदेखि एउटै कम्पनीले ठेक्का पाइरहेको भन्दै नयाँ कम्पनीलाई अवसर दिनुपर्ने धारणा राखेका थिए। सोही आधारमा राहदानी विभागलाई जर्मन कम्पनीतर्फ निर्णय गर्न दबाब परेको दाबी पनि स्रोतहरूले गरेका छन्। फ्रान्सेली कम्पनीको नेपाल प्रतिनिधित्व सिद्धान्त पाण्डेले गर्दै आएको र लामो समयदेखि एउटै कम्पनीले काम गरिरहेको विषयलाई लिएर सरकारी तहमा असन्तुष्टि रहेको दाबीसमेत गरिएको छ।

यद्यपि कानुनी दृष्टिले हेर्दा पासपोर्ट खरिद प्रक्रियामा प्रधानमन्त्री वा परराष्ट्रमन्त्री प्रत्यक्ष निर्णयकर्ता हुँदैनन्। खरिद प्रक्रिया प्रचलित सार्वजनिक खरिद कानुनअनुसार सम्बन्धित निकायमार्फत अघि बढ्ने भएकाले अन्तिम प्रशासनिक निर्णयमा उनीहरूको औपचारिक हस्ताक्षर वा प्रत्यक्ष संलग्नता रहने व्यवस्था छैन।

यही कारणले आरजु राणालाई यो प्रकरणमा जोड्ने प्रयास राजनीतिक प्रेरित हुन सक्ने तर्क पनि उठाइएको छ। स्रोतहरूका अनुसार जेनजी घटनापछि सम्पत्ति शुद्धीकरण वा अन्य भ्रष्टाचारसम्बन्धी आरोपमा पर्याप्त प्रमाण जुट्न नसकेपछि ई-पासपोर्ट प्रकरणलाई नयाँ आधार बनाउने प्रयास भएको दाबी गरिएको छ। यद्यपि यसबारे सम्बन्धित निकायले औपचारिक रूपमा कुनै निष्कर्ष सार्वजनिक गरेको छैन।

यस प्रकरणले प्रशासनिक संयन्त्रभित्र पनि असर परेको बताइन्छ। सरकारी अधिकारीहरूमाथि बढ्दो दबाबका कारण निर्णय प्रक्रियामा संलग्न कर्मचारीहरू त्रसित भएको र भविष्यमा यस्ता संवेदनशील खरिद प्रक्रियामा निर्णय लिन कर्मचारीहरू हिच्किचाउन सक्ने अवस्था सिर्जना भएको चर्चा प्रशासनिक वृत्तमा भइरहेको छ।

स्रोतका अनुसार राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालले पनि यो विषय विवादित बन्न सक्ने आकलन गर्दै विभागको जिम्मेवारी लिन सुरुमा अनिच्छा देखाएका थिए। अहिले उनीमाथि अनुसन्धान केन्द्रित भएपछि कर्मचारी प्रशासनमा थप चासो र चिन्ता बढेको बताइन्छ।

राजनीतिक दबाबमा  सरकारी संयन्त्र

यसैबीच प्रधानमन्त्री कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी र अधिकारीहरूलाई कार्यालयमै बोलाएर राहदानी विभागका प्रमुखसहित पदाधिकारीविरुद्ध ‘पक्राउ पुर्जी जारी गर्न दबाव दिएको’ विषयमा सरकारको आलोचना अहिलेसम्म भइरहेको छ। यसबारे विपक्षी सांसदहरूले संसद्‌मा पनि प्रश्न उठाएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमाथि पनि विभिन्न किसिमका राजनीतिक दबाब पार्नु र संवैधानिक निकायमाथि सरकार हाबी हुनुले सरकार प्रतिसोधको पथमा हिडेको पनि देखिन्छ । विगतदेखि नै प्रधानमन्त्रीसँग देउवा परिवारको सम्बन्ध सहज नरहेको तथा पछिल्ला घटनाक्रमले संवैधानिक निकाय र कार्यपालिकाबीचको सम्बन्धलाई समेत प्रश्नको घेरामा ल्याएको दाबी गरिन्छ ।

सुरक्षा संयन्त्रसँग सरकारको सम्बन्धलाई लिएर पनि विभिन्न चर्चा भइरहेका छन्। केही स्रोतहरूले तत्कालीन प्रधानमन्त्रीको कार्यशैलीका कारण सुरक्षा निकायभित्र असन्तुष्टि बढेको दाबी गरेका छन्। यद्यपि यी दाबीहरू सम्बन्धित निकायबाट आधिकारिक रूपमा पुष्टि भएका छैनन्।

अर्कोतर्फ, यो घटनापछि काठमाडौंस्थित युरोपेली कूटनीतिक वृत्तमा समेत चासो बढेको बताइन्छ। विशेषगरी जर्मन कम्पनीसँग सम्बन्धित विवादका क्रममा जर्मन राजदूतसँग भएको व्यवहारप्रति केही कूटनीतिक असन्तुष्टि व्यक्त भएको स्रोतहरूको भनाइ छ।

यस्तै, तत्कालीन विभागीय मन्त्री शिशिर खनालसँग औपचारिक रूपमा सोधपुछ नभएको विषयले पनि विभिन्न प्रश्न जन्माएको छ। स्रोतका अनुसार ठेक्का प्रक्रिया रद्द गर्ने तयारीबारे उनले अनौपचारिक जानकारी पाएका भए पनि त्यसबारे आधिकारिक जानकारी भने दिइएको थिएन।

समग्रमा हेर्दा ई-पासपोर्ट प्रकरण सार्वजनिक खरिद प्रक्रियामा देखिएको प्रशासनिक विवाद मात्र नभई राजनीतिक शक्ति संघर्ष र प्रभावको प्रतिस्पर्धा पनि जोडिएको विश्लेषकहरू बताउँछन्।

यस विषयमा अन्तिम निष्कर्ष स्वरुप न्यायालयले के निर्णय गर्छ त्यो भने हेर्न बाँकी नै छ।

युद्धविरामकै बीच अमेरिका-इरानको बम हानहान

एजेन्सी। अमेरिका र इरानबीच युद्धविराम कायम गर्ने प्रयास भइरहेका बेला दुवै देशबीच फेरि सैन्य तनाव चर्किएको छ।

दक्षिणी इरानमा अमेरिकाले हवाई आक्रमण गरेपछि दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार अमेरिकी लडाकु विमानले दक्षिणी इरानका विभिन्न सैन्य लक्ष्यमाथि हवाई आक्रमण गरेका हुन्। इरानका क्षेप्यास्त्र तथा ड्रोन भण्डारण स्थललाई लक्षित गर्दै आक्रमण गरिएको बताइएको छ। यो घटनाले दुई देशबीच जारी कूटनीतिक संवादमाथि समेत प्रश्न उठाएको छ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)ले इरानले युद्धविरामको सर्त उल्लंघन गरेपछि जवाफी कारबाही गरिएको जनाएको छ। सेन्टकमका अनुसार हर्मुज जलमार्गमा एक जहाजमाथि इरानले ड्रोन आक्रमण गरेपछि अमेरिकी सेनाले सैन्य प्रतिक्रिया जनाएको हो।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले युद्धविराम सम्झौताको पालना नगरेको आरोप लगाएका छन्। उनका अनुसार अमेरिका कूटनीतिक वार्ताबाट समाधान खोज्न तयार रहे पनि इरानले हिंसात्मक गतिविधि जारी राखे त्यसको उचित जवाफ दिइनेछ।

उता इरानले पनि दक्षिणी बन्दरगाह सिरिक नजिक अमेरिकी आक्रमण भएको पुष्टि गरेको छ। इरानी अधिकारीहरूका अनुसार अमेरिकी आक्रमणपछि हर्मुज क्षेत्रस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी सैन्य कारबाही गरिएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले हर्मुज जलमार्गमा नियम उल्लंघन गर्ने गतिविधिविरुद्ध चेतावनीस्वरूप क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ। आईआरजीसीले विज्ञप्ति जारी गर्दै अमेरिकाले पुनः आक्रमण गरे अझ कडा प्रत्याक्रमण गरिने चेतावनी दिएको छ।

इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका अध्यक्ष इब्राहिम अजीजीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युद्धविरामप्रति प्रतिबद्ध नरहेको आरोप लगाएका छन्। उनले युद्धविराम उल्लंघनको परिणाम गम्भीर हुने चेतावनी दिँदै अमेरिका आफ्नो कदमप्रति पछुताउन बाध्य हुने दाबी गरेका छन्।

दुवै देशले एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाइरहेका कारण क्षेत्रीय तनाव फेरि बढ्ने संकेत देखिएको छ।

कूटनीतिक प्रयास जारी रहे पनि पछिल्ला सैन्य गतिविधिले मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्न सक्ने देखिएको छ।

माओवादीबाट चुनाव जितेका उपमेयर रास्वपा महाधिवेशनमा पुगेपछि…

काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका गिरी हालै चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी भएको विषय सार्वजनिक भएपछि नेकपाले उनीसँग जवाफ मागेको हो।

नेकपाको प्रदेश कमिटीका संयोजक हरिराम चौधरी ‘उत्सव’ले जारी गरेको स्पष्टीकरण पत्रमा गिरीले पार्टीको नीति र अनुशासनविपरीत गतिविधि गरेको उल्लेख गरिएको छ। पत्रमा उनी संघीय निर्वाचनका क्रममा पनि पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा सक्रिय नभएको र पछिल्लो समय अर्को राजनीतिक दलको महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी भएर पार्टी अनुशासन उल्लङ्घन गरेको आरोप लगाइएको छ।

यस्तै, गिरी बर्दगोरिया गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने गाउँसभा बैठकमा समेत अनुपस्थित रहेको नेकपाले उल्लेख गरेको छ। उक्त समयमा उनी रास्वपाको महाधिवेशनमा सहभागी हुन चितवनमा रहेको जनाइएको छ।

उपाध्यक्ष गिरी अनुपस्थित भएपछि गाउँपालिकाको बजेट गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर–१ का अध्यक्ष मिथुन गौतमले प्रस्तुत गरेका थिए।

नेकपाले गिरीलाई स्पष्टीकरण पेस गर्न २४ घण्टाको समयसीमा दिएको छ। प्राप्त जवाफका आधारमा पार्टीले आवश्यक निर्णय गर्ने जनाएको छ।

छोराको कुटपिटबाट आमाको मृत्यु

काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिकामा छोराले कुटपिट गर्दा एक महिलाको मृत्यु भएको छ।

घटनामा संलग्न आरोपित छोरालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको हाे।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार उदयपुरको कटारी नगरपालिका-५ स्थायी घर भई हाल सूर्यविनायक नगरपालिका-९ भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीमाथि शुक्रबार साँझ करिब ७:४५ बजे उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएकी मेघियालाई तत्काल उपचारका लागि ललितपुरस्थित पाटन अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा राति करिब १ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले आरोपित किरण चौधरीलाई नियन्त्रणमा लिएको छ।

घटनाको कारण र अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

बालेन सरकारको ‘सय दिन, सय काम’: घोषणा धेरै, उपलब्धि थोरै

काठमाडौं। जेनजी आन्दोलनको जगमा बनेको वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पदभार ग्रहण गरेलगत्तै ‘सय दिन, सय काम’ कार्ययोजना सार्वजनिक गरेसँगै जनमानसमा छुट्टै आशा र रौनक छाएको थियो।

बालेन सरकारले छोटो अवधिमै प्रशासनिक सुधार, आर्थिक पुनरुत्थान र सुशासनमा उल्लेखनीय उपलब्धि हासिल गर्ने महत्वाकांक्षी लक्ष्य अघि सार्‍यो ।

सरकार गठनसँगै सार्वजनिक गरिएको उक्त कार्ययोजनाले उद्योग, लगानी, कृषि, ऊर्जा, पर्यटन, भूमिसुधार, राजस्व प्रशासन, रोजगारी तथा डिजिटल शासनलगायतका क्षेत्रमा तीव्र सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेको थियो।

सय दिन पूरा भइसकेपछि सरकारका प्रतिबद्धताको कार्यान्वयन अवस्था हेर्दा केही क्षेत्रमा प्रारम्भिक प्रगति देखिए पनि अधिकांश योजना अझै प्रक्रियामै सीमित देखिएका छन्।

आर्थिक सूचक, सार्वजनिक तथ्यांक तथा निजी क्षेत्रको प्रतिक्रियाले पनि सरकारले घोषणा गरेअनुसार परिणाम दिन नसकेको संकेत गरेका छन्। सरकार भने अधिकांश योजना कार्यान्वयनकै चरणमा रहेको दाबी गर्दै आएको छ।

पुँजीगत खर्चमै सरकारको सबैभन्दा ठूलो चुनौती

सरकारको कार्यसम्पादन मूल्याङ्कन गर्ने सबैभन्दा महत्वपूर्ण आधार पुँजीगत खर्च मानिन्छ। तर चालु आर्थिक वर्ष सकिन करिब २० दिन बाँकी रहँदासम्म सरकारले विकास निर्माणका लागि छुट्याएको बजेटको जम्मा ३४.१ प्रतिशत मात्रै खर्च गर्न सकेको छ। गत आर्थिक वर्षको यही अवधिमा पुँजीगत खर्च ४३ प्रतिशत पुगेको थियो।

पुँजीगत खर्च कमजोर हुँदा राष्ट्रिय गौरवका आयोजना, सडक, पुल, सिँचाइ, ऊर्जा तथा अन्य पूर्वाधार निर्माण प्रभावित हुन्छन्। यसले निर्माण व्यवसायीको भुक्तानी ढिलो हुने, रोजगारी सिर्जना घट्ने, बजारमा नगद प्रवाह कम हुने र समग्र आर्थिक गतिविधिमा सुस्तता आउने जोखिम बढाउँछ। बलियो राजनीतिक जनादेशसहित गठन भएको सरकारले समेत विकास खर्च बढाउन नसक्नु आर्थिक व्यवस्थापनमाथि प्रश्न उठाउने प्रमुख आधार बनेको छ।

लगानीकर्ताको विश्वास अझै फर्किएन

सरकार गठनपछि निजी क्षेत्र र लगानीकर्ताले आर्थिक सुधारको अपेक्षा गरेका थिए। तर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा देखिएको निरन्तर गिरावटले बजारमा अपेक्षित विश्वास सिर्जना हुन नसकेको देखाउँछ।

सरकार गठनका बेला करिब २७ सय अंकमा रहेको नेप्से घटेर करिब २६५१ अंकमा पुगेको छ।

विश्लेषकहरूका अनुसार पुँजी बजार केवल सेयर कारोबारको सूचक मात्र होइन, सरकारप्रति निजी क्षेत्रको मनोवैज्ञानिक विश्वास मापन गर्ने आधार पनि हो।

लगानीकर्ताले स्थिर नीति, कर प्रणालीमा स्पष्टता, नियामकीय सहजता र लगानीमैत्री वातावरण खोजिरहेका छन्। तर सय दिनभित्र त्यस्तो विश्वास दिलाउने खालको ठोस नीति कार्यान्वयन हुन नसकेको उनीहरूको भनाइ छ।

राजस्वमा सामान्य सुधार, लक्ष्य भने अझै टाढा

सरकारले राजस्व प्रशासन सुधारलाई प्रमुख प्राथमिकतामा राखेको थियो। राजस्व चुहावट नियन्त्रण, कर प्रणालीको पूर्ण डिजिटलीकरण, ठूला व्यवसायमा ई-बिलिङ अनिवार्य तथा निष्क्रिय स्रोत परिचालन गर्ने घोषणा गरिएको थियो।

यद्यपि हालसम्म सरकारले वार्षिक लक्ष्यको ७४.५१ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यो दर ७३.८ प्रतिशत थियो। प्रतिशतमा सामान्य सुधार देखिए पनि लक्ष्य प्राप्त गर्ने सम्भावना कमजोर देखिएको छ।

त्यसैगरी वैदेशिक अनुदान परिचालन पनि ४४.३१ प्रतिशतमा सीमित छ। विकास साझेदारबाट प्राप्त हुने अनुदान समयमै परिचालन हुन नसक्दा धेरै विकास आयोजना प्रभावित भएका छन्।

उद्योग र लगानी सुधारका योजना अझै कागजमै

सरकारले उद्योग स्थापना प्रक्रियालाई सहज बनाउन ‘वन डोर बिजनेस प्लेटफर्म’ सञ्चालन गर्ने, उद्योग दर्तादेखि कर दर्ता, बैंक खाता र स्वीकृतिसम्म एउटै प्रणालीमा जोड्ने घोषणा गरेको थियो।

साथै ‘स्टार्टअप फास्ट ट्र्याक’ लागू गर्ने, लगानी बोर्डमार्फत एकद्वार सेवा दिने तथा राष्ट्रिय परियोजनाको एकीकृत सूची तयार गर्ने योजना पनि अघि सारिएको थियो।

तर उद्योग विभाग, कम्पनी रजिस्ट्रार, वाणिज्य विभाग तथा लगानी बोर्डबीच आवश्यक डिजिटल समन्वय अझै स्थापित हुन सकेको छैन।

रियल–टाइम डेटा आदानप्रदान गर्ने प्रणाली सञ्चालनमा आएको छैन भने संस्थागत दोहोरोपन हटाउने काम पनि अध्ययनकै चरणमा रहेको छ।

निजी क्षेत्रलाई रिझाउन सकेन

सरकारले निजी क्षेत्रको मनोबल उकास्न ‘प्राइभेट सेक्टर प्रोटेक्सन एन्ड प्रमोसन स्ट्राटेजी’ लागू गर्ने, औद्योगिक सुरक्षा सुदृढ गर्ने तथा आन्दोलनबाट प्रभावित व्यवसायलाई राहत दिने घोषणा गरेको थियो।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेका अनुसार बलियो सरकार हुँदाहुँदै पनि बजारमा अपेक्षित सुधार आउन सकेको छैन। उद्योग उत्पादन घटिरहेको, उपभोग नबढेको, बैंकमा लगानीयोग्य पुँजी थुप्रिएको र पुँजी बजार निरन्तर दबाबमा रहेकाले आर्थिक गतिविधि अझै सुस्त रहेको उनको भनाइ छ।

उनले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्न सरकारबाट स्पष्ट नीतिगत दिशा, स्थायित्व र विश्वास निर्माण आवश्यक रहेको बताएका छन्।

न्यून कार्यान्वयनमा कृषि सुधारका काम 

सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण, कृषि उपज खरिदपछि २५ दिनभित्र अनिवार्य भुक्तानी, राष्ट्रिय कृषि बजार सूचना प्रणाली सञ्चालन, प्रत्येक पालिकामा कृषि हाटबजार र ‘एक पालिका, एक चिस्यान केन्द्र’ स्थापना गर्ने योजना अघि सारेको थियो।

तर कृषि मन्त्रालयका अनुसार चैते धानको समर्थन मूल्य निर्धारणबाहेक अन्य अधिकांश कार्यक्रम प्रारम्भिक तयारीमै छन्।

किसानले अपेक्षा गरेको कृषि सूचना प्रणाली, ‘सोइल हेल्थ कार्ड’ वितरण तथा चिस्यान केन्द्र स्थापना कार्यक्रम प्रभावकारी रूपमा अघि बढ्न सकेका छैनन्।

कर प्रशासनको डिजिटल रूपान्तरण अधुरै

सरकारले कर प्रशासनलाई पूर्ण रूपमा डिजिटल बनाउने, ठूला व्यवसायमा ई–बिलिङ अनिवार्य गर्ने तथा निष्क्रिय बैंक खाता र विभिन्न कोषमा रहेको रकम राज्यकोषमा परिचालन गर्ने योजना सार्वजनिक गरेको थियो।

अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना तयार भएको जनाएको भए पनि १३९ भन्दा बढी कोष एकीकरण गर्ने, निष्क्रिय स्रोत परिचालन गर्ने तथा धरौटी रकमको व्यवस्थापन गर्ने काम अझै सुरु हुन सकेको छैन।

ऊर्जा क्षेत्रमा आंशिक प्रगति

ऊर्जा निर्यात रणनीति बनाउने, रोकिएका विद्युत् खरिद सम्झौता (पिपिए) टुंग्याउने तथा नेपाल विद्युत् प्राधिकरणको संरचनात्मक सुधार गर्ने योजना पनि सरकारको प्राथमिकतामा थियो।

ऊर्जा मन्त्रालयले रणनीति निर्माण, ऊर्जा निर्यात विस्तार तथा केही पिपिए प्रक्रिया अघि बढेको जनाएको छ। तर सबै रोकिएका पिपिए सम्झौताको टुंगो लागिसकेको छैन भने प्राधिकरण सुधारसम्बन्धी अध्ययन पनि जारी छ।

रोजगारी, पर्यटन र भूमिसुधारमा अपेक्षित गति आएन

सरकारले रोजगार सेवा केन्द्रलाई ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’मा रूपान्तरण गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई पुनःएकीकरण गर्ने, ‘पीएम डेलिभरी युनिट’ स्थापना गरी योजनाको डिजिटल अनुगमन गर्ने तथा प्रमुख पर्यटकीय गन्तव्यको व्यवस्थित विकास गर्ने घोषणा गरेको थियो।

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको डिजिटल अभिलेख तयार गर्ने र सार्वजनिक जग्गाको जिआइएस नक्साङ्कन गर्ने योजना पनि सार्वजनिक गरिएको थियो।

तर यी अधिकांश कार्यक्रम अझै प्रारम्भिक चरणमै रहेका छन्। स्थानीय तहमा पुरानै संरचना कायम छ भने नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

सरकारको दाबी र डाँको ठुलो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार सरकारले घोषणा गरेका अधिकांश कार्यक्रम कार्यान्वयनकै चरणमा रहेको बताएका छन्।

उनका अनुसार सय दिनको समीक्षा सम्पन्न भइसकेको छ र धेरै कार्यक्रम सुरु भइसकेका छन् भने केही प्रक्रियागत चरणमा छन्।

तर सार्वजनिक आर्थिक तथ्यांक, सरकारी प्रगति विवरण तथा निजी क्षेत्रको प्रतिक्रियाले सरकारको ‘सय दिन, सय काम’ अभियानले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको देखाउँछन्।

विश्लेषकहरूका अनुसार सरकारले सार्वजनिक गरेको कार्ययोजनाले आर्थिक सुधार, डिजिटल शासन र प्रशासनिक आधुनिकीकरणको स्पष्ट खाका प्रस्तुत गरेको भए पनि घोषणालाई परिणाममा रूपान्तरण गर्ने क्षमता अझै कमजोर देखिएको छ।

संस्थागत जटिलता, कानुनी प्रक्रिया, अन्तरनिकाय समन्वयको अभाव, प्रशासनिक ढिलासुस्ती र कार्यान्वयन संयन्त्रको कमजोरीका कारण धेरै योजना समयमै अघि बढ्न सकेका छैनन्।

फर्केर हेर्दा रास्वपा महाधिवेशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूलाई नेपाली राजनीतिमा नयाँ पुस्ता, नयाँ सोच र नयाँ राजनीतिक संस्कृतिको प्रतिनिधिका रूपमा स्थापित गर्ने प्रयास गर्दै आएको देखिन्छ । प्रविधिमैत्री संगठन, समयको सम्मान, पारदर्शी निर्णय प्रक्रिया र आन्तरिक लोकतन्त्रलाई आफ्नो पहिचानका रूपमा प्रस्तुत गरेको रास्वपाका लागि चितवनमा जारी पहिलो राष्ट्रिय महाधिवेशन त्यसलाई प्रमाणीत गर्ने एउटा ऐतिहासिक अवसर थियो।

तर, महाधिवेशनको क्रम हेर्दा यो पार्टीको उपलब्धिभन्दा चुनौती र आन्तरिक कमजोरी उजागर गर्ने मञ्चका रूपमा बढी देखिएको छ। असार ७ गते सुरु भएको महाधिवेशन असार १२ गतेसम्म पनि सम्पन्न हुन नसक्दा पार्टीको व्यवस्थापकीय क्षमता, निर्णय प्रक्रिया र लोकतान्त्रिक अभ्यासबारे अनेक प्रश्न उठेका छन्।

महाधिवेशनका कारण संघीय संसदसमेत प्रभावित भयो। प्रतिनिधिसभाको बैठक दुई दिनसम्म सार्नुपरेको अवस्था छ । सुरुमा बिहीबार बस्ने भनिएको बैठक शुक्रबारका लागि सारियो भने महाधिवेशन अझै नसकिएपछि शनिबारका लागि धकेलियो। एउटा नयाँ राजनीतिक दलको पहिलो महाधिवेशनका कारण राष्ट्रिय संसदको कार्यसूची नै प्रभावित हुनु आफैंमा असामान्य घटना हो।

महाधिवेशनको सुरुवात भने निकै उत्साहपूर्ण देखिएको थियो। उद्घाटन समारोहमा देशभरबाट आएका प्रतिनिधि, समर्थक तथा विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिताले रास्वपाभित्र उत्साह थपेको थियो। सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ लगायतका विपक्षी दलहरुका वक्ताहरूको सम्बोधनपछि सहभागीहरू महाधिवेशन सफल हुने विश्वासका साथ बाहिरिएका थिए।

उद्घाटनकै दिन परेको वर्षालाई पनि धेरैले शुभ संकेतका रूपमा व्याख्या गरेका थिए। सांसद इन्दिरा रानामगरले उद्घाटन सत्र निकै व्यवस्थित र प्रभावकारी भएको प्रतिक्रिया दिएकी थिइन्।‘निकै राम्रो भयो उद्घाटन सत्र। त्यसैमाथि पानी पर्यो, यसले झन् सोभनीय बनायो,’ रास्वपा सांसद इन्दिरा रानामगरले भनिन्। 

तर उद्घाटन सत्रको उत्साह दोस्रो दिनबाटै चुनौतीमा परिणत हुन थाल्यो। रास्वपाले बिहानै बन्द सत्रको विस्तृत कार्यतालिका सार्वजनिक गर्दै बिहान ८:३० बजे सत्र सुरु हुने जनाएको थियो। तर प्रतिनिधिहरू दिउँसोसम्म प्रतीक्षा गर्दा पनि बन्द सत्र सुरु हुन सकेन। विशेषगरी पहाडी तथा हिमाली जिल्लाबाट आएका प्रतिनिधिहरू चितवनको अत्यधिक गर्मी, बसोबास र अनिश्चित कार्यतालिकाबाट असन्तुष्ट देखिन थाले। समय व्यवस्थापनलाई आफ्नो विशेषता बताउने पार्टीले आफ्नै कार्यक्रम समयमै सञ्चालन गर्न नसक्नुले नेतृत्वको व्यवस्थापकीय क्षमतामाथि प्रश्न उठाएको छ ।

पार्टीले ढिलाइको कारण प्राविधिक समस्या तथा प्रतिनिधि विवाद रहेको जनाएको थियो। तर पार्टीभित्रका विश्वसनीय स्रोतहरूका अनुसार उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको अर्थ-राजनीतिक प्रतिवेदनका विषयमा सहमति जुट्न नसक्दा बन्द सत्र प्रभावित भएको थियो। यससँगै उद्घाटन समारोहमा ‘हामी पदका लागि लड्दैनौं’ भन्ने सन्देश दिन खोजेका रास्वपा नेताहरू बन्द सत्रअघि नै नेतृत्व र पद व्यवस्थापनमा केन्द्रित भएको चर्चा पार्टीभित्रै हुन थाल्यो। यसले रास्वपाभित्र सार्वजनिक अभिव्यक्ति र आन्तरिक अभ्यासबीचको अन्तरलाई पनि उजागर गर्‍यो। चितवन महाधिवेशनमा आफूले व्याख्या गरेको आफ्नै चरित्र जोगाउन नसकेको रास्वपा वृत्तले गफ दिनु र काम गरेर देखाउनुमा ठुलो अन्तर हुन्छ भन्ने पनि प्रमाणित गर्यो। 

बन्द सत्रले रास्वपाको भाग्य र भविस्य लेखिएको राजनीतिक तथा संगठनात्मक प्रतिवेदन पारित गर्‍यो। तर यसको प्रक्रिया पनि विवादरहित भने हुन सकेन। पार्टी उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेको अर्थ राजनीतिक प्रतिवेदनमा प्रदेश सभा खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, निर्दलीय स्थानीय तह तथा राष्ट्रिय सभालाई गैरदलीय बनाउनेजस्ता दीर्घकालीन संवैधानिक विषय समेटिएका थिए। यस्ता विषयमा व्यापक बहस हुने अपेक्षा गरिए पनि प्रतिनिधिहरूले पर्याप्त छलफलको अवसर नपाएको गुनासो गरे। दिउँसो सुरु भएको बन्द सत्र केही घण्टामै सकिएपछि धेरै प्रतिनिधिले आफूहरूको भूमिका औपचारिकतामा सीमित भएको महसुस गरेका थिए। 

निर्वाचनताका वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले संघीयतालाई झनै बलियो बनाउने भन्दै मत मागेका थिए। उनले त्यतिबेला भनेका थिए, ‘काठमाडौँ घुम्न जाने हो, अधिकार माग्न होइन। अधिकार जनकपुरबाटै दिने गरी प्रदेशलाई बलियो बनाउन चाहन्छौँ।’ तर, यसको ठिक विपरित रास्वपाको चितवन महाधिवेशनले प्रदेश सभा खारेज गर्ने प्रस्ताव पारित नै गर्यो। यसले प्रधानमन्त्री लगायत रास्वपा कति ‘फ्रड’ छ भन्ने त उदाङ्गो बनायो नै अर्कोतिर रास्वपाको राजनीतिक दिशा र चरित्र माथि पनि गम्भीर प्रश्न खडा गरेको छ।    

प्रदेश सभा खारेजीको प्रस्तावले पार्टीभित्र दुइकित्ता बन्ने अवस्थाको सिर्जना गर्यो। सांसद जगदिश खरेलले संविधान संशोधन संख्याको भरमा गर्न नमिल्ने धारणा राखे। ‘संख्या भयो भन्दैमा जे पनि शंशोधन गरिहाल्न मिल्दैन,’ खरेलको धारणा छ।  सांसद रञ्जु दर्शनाले पनि प्रदेश संरचनाबारे गम्भीर बहस आवश्यक रहेको बताइन्। सांसद रहबर अन्सारी र समीक्षा बास्कोटाले प्रदेश सभा खारेज गर्नुको सट्टा पुनःसंरचना गरेर प्रभावकारी बनाउनु उचित हुने मत व्यक्त गरे।

‘प्रदेश सभा खारेजी होइन, पुन:संरचना र बलियो बनाएर लैजाने हो,’ अन्सारीले प्रदेश खारेजीका सन्दर्भमा भने।  यसले नेतृत्वले अघि सारेका एजेन्डामा समेत पार्टीभित्र एकमत नरहेको र महाधिवेशन प्रतिनिधिलाई पनि बन्द सत्रमा पार्टीका एजेन्डामा छलफल गर्न नदीइएको प्रष्ट हुन्छ। 

रास्वपा महाधिवेशनको अर्को विवादित पक्ष निर्वाचन प्रणाली रह्यो। लामो समयदेखि ‘नो भोट’ प्रणालीको वकालत गर्दै आएको रास्वपाले आफ्नै महाधिवेशनमा लागू गरेको मतदान प्रणालीप्रति उम्मेदवार र प्रतिनिधिहरूले असन्तुष्टि जनाए। विधानअनुसार प्रतिनिधिहरूले आफ्ना प्रतिस्पर्धी उम्मेदवारलाई समेत अनिवार्य रूपमा मत दिनुपर्ने व्यवस्थाले धेरैलाई असहज बनायो। सांसद राजीव खत्रीले सामाजिक सञ्जालमार्फत ‘संसारमा आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्ने मतदान प्रणाली कहाँ हुन्छ?’ भन्दै प्रश्न उठाए। सांसद ज्वाला संग्रौलाले त्यसैमा व्यंग्य थप्दै भनिन्, ‘जान्नेलाई छान्ने क्या सर!’ 

निर्वाचन प्रक्रियामा उम्मेदवारको नाम क्रमसंख्याबाट हराउने, कतिपयको मतपरिणाम नै सार्वजनिक नहुने तथा धेरै मत ल्याएका उम्मेदवारसमेत निर्वाचित नहुने जस्ता विषयले निर्वाचन व्यवस्थापनमाथि थप प्रश्न खडा गरेका छन्।

नेतृत्व चयनका क्रममा पनि समूहगत समर्थन र उम्मेदवारी फिर्ताको अभ्यासले विवाद निम्त्याएको छ। केही उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर एउटै उम्मेदवारलाई समर्थन गरेपछि महामन्त्रीका उम्मेदवार मनीष झा र गणेश कार्कीले यसको सार्वजनिक विरोध गरे। उनीहरूले यस्तो अभ्यासले रास्वपाले आलोचना गर्दै आएको गुटबन्दी र प्यानल राजनीतिलाई नै प्रोत्साहन गरेको तर्क गरे। अर्कोतिर उम्मेदवारहरु सेलेक्टिभ भएको आरोप पनि रास्वपा नेतृत्वमाथि छ। सभापति रवि लामिछानेले उद्घाटन समारोहमा अर्काका लागि भोट नमाग्न दिएको सन्देशको विपरीत गतिविधि भएको उनीहरूको आरोप थियो।

महाधिवेशनभर अर्को रोचक दृश्य भनेको नेताहरूको एउटै शैलीको प्रतिक्रिया थियो। विवादबारे प्रश्न गर्दा अधिकांश नेताहरूले ‘अहिले टिप्पणी गर्न चाहन्न’, ‘पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्छ’, ‘पहिले आन्तरिक छलफल हुन्छ’ वा ‘हामी सिक्दैछौं’ भन्ने एउटै प्रकारका उत्तर दोहोर्‍याइरहे। मानौँ उनीहरु रोबोट हुन् र उनीहरुको दिमाखमा रोबोट जस्तै रेडिमेट उत्तर सेट गरिएको छ। यसले पार्टीभित्र व्यक्तिगत धारणा सार्वजनिक गर्न नेतृत्व तहबाटै संयमता अपनाउन निर्देशन दिइएको हो कि भन्ने अर्को प्रश्न उठाएको छ।

महाधिवेशनले अतिथिप्रतिको व्यवहारका कारण पनि आलोचना खेप्नुपर्‍यो। उद्घाटन समारोहमा एमाले नेता प्रदीप ज्ञवालीले सम्बोधन गरिरहँदा केही कार्यकर्ताले हुटिङ गरेका थिए। त्यसपछि रास्वपा नेता रमेश प्रसाईं र खगेन्द्र सुनारले विपक्षी नेताहरूप्रति दिएको अभिव्यक्तिले थप विवाद सिर्जना गर्‍यो। अतिथिलाई बोलाएर सार्वजनिक रूपमा आलोचना गर्नु राजनीतिक शिष्टाचारविपरीत भएको टिप्पणी विभिन्न राजनीतिक वृत्तबाट आयो।

रास्वपा महाधिवेशनले सञ्चारकर्मीप्रति गरेको व्यवहार पनि असन्तुष्टिको एउटा केन्द्र थियो । महाधिवेशन स्थलमा मिडिया व्यवस्थापन कमजोर रहेको, पत्रकारहरूलाई मिडिया सेन्टरबाट हटाइएको, सुरक्षाकर्मीमार्फत अभद्र व्यवहार भएको तथा सूचना प्रवाह व्यवस्थित नभएको गुनासो पत्रकारहरू गरिरहेका थिए। पारदर्शिता र खुलापनलाई आफ्नो विशेषता बताउने पार्टीका लागि यी आरोपहरू असहज थिए।

महाधिवेशन लम्बिँदै जाँदा त्यसको प्रत्यक्ष असर प्रतिनिधिहरूमाथि पर्‍यो। व्यवस्थापकीय ढिलाइ, अत्यधिक गर्मी, बसोबास र अतिरिक्त खर्चका कारण उल्लेख्य संख्यामा प्रतिनिधि मतदानअघि नै घर फर्किए । कतिपय प्रतिनिधिले आर्थिक अभावका कारण बसाइ लम्ब्याउन नसकेको बताएका थिए भने केहीले व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै महाधिवेशन छाडेका थिए। यदि उल्लेख्य संख्यामा प्रतिनिधिले मतदानमा भाग लिन नपाएको हो भने त्यसले महाधिवेशनबाट निर्वाचित नेतृत्वको प्रतिनिधित्व र प्रक्रियाको प्रभावकारितामाथि पनि प्रश्न उठाउने अवस्था सिर्जना हुन्छ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनले पार्टीभित्र रहेका धेरै सम्भावना र कमजोरीलाई एकैसाथ सतहमा ल्याएको छ। एउटा नयाँ दलका रूपमा प्रारम्भिक चरणमा व्यवस्थापकीय चुनौती आउनु स्वाभाविक मानिए पनि समय व्यवस्थापन, नीति निर्माण, निर्वाचन प्रक्रिया, आन्तरिक लोकतन्त्र, सञ्चार व्यवस्थापन र संगठन सञ्चालनजस्ता विषयमा उठेका प्रश्नहरूलाई पार्टीले गम्भीर रूपमा लिनुपर्ने देखिन्छ। यही महाधिवेशनले रास्वपाले विगतमा उठाउँदै आएको नयाँ राजनीतिक संस्कृतिको दाबी व्यवहारमा कति सफल हुन्छ भन्ने पनि पुष्टि गरेको छ। उनीहरुकै भाषामा भन्नु र गर्नुमा ठुलो फरक हुन्छ। र, त्यो ज्ञान सम्पूर्ण रास्वपा वृत्तले यो महाधिवेशनबाट आर्जन गरेको हुनुपर्छ।  

 

गर्मीले रेकर्ड तोडेपछि…

एजेन्सी। युरोपमा यस वर्ष अनुभव गरिएको रेकर्डस्तरको गर्मीको लहर प्राकृतिक संयोग नभई मानवसिर्जित जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव भएको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्।

उनीहरूका अनुसार जीवाश्म इन्धनको निरन्तर प्रयोगका कारण पृथ्वीको तापक्रम बढ्दै जाँदा विगतमा अत्यन्त दुर्लभ मानिने उष्ण लहरहरू अहिले बारम्बार दोहोरिन थालेका हुन्।

विश्व मौसम एट्रिब्युसन (डब्लुडब्लुए) समूहले शुक्रबार सार्वजनिक गरेको अध्ययनमा युरोप, अमेरिका र बेलायतका जलवायु वैज्ञानिकहरूले हालै युरोपमा देखिएको अत्यधिक गर्मीको वैज्ञानिक विश्लेषण गरेका छन्। अध्ययनले वर्तमान तापक्रम वृद्धि प्राकृतिक मौसमी चक्रले मात्र व्याख्या गर्न नसकिने र यसको प्रमुख कारण मानव गतिविधिबाट उत्सर्जित हरितगृह ग्यास नै रहेको निष्कर्ष निकालेको छ।

अध्ययनअनुसार यदि सन् १९७६ मा अहिलेजस्तै मौसमीय अवस्था बनेको भए तापक्रम हालको तुलनामा करिब ३.५ डिग्री सेल्सियस कम हुने थियो। यसले पछिल्ला पाँच दशकमा जलवायु प्रणालीमा आएको तीव्र परिवर्तनलाई स्पष्ट रूपमा देखाएको वैज्ञानिकहरूको भनाइ छ।

अध्ययनका प्रमुख लेखक तथा इम्पेरियल कलेज लन्डनका वैज्ञानिक थियोडोर किपिङका अनुसार अहिलेको गर्मी जलवायु परिवर्तनबिना सम्भव हुने अवस्था थिएन। उनका अनुसार औद्योगिक क्रान्तिअघिको अवस्थाको तुलनामा पृथ्वीको औसत तापक्रम करिब १.४ डिग्री सेल्सियसले बढिसकेको छ, जसको प्रमुख कारण कोइला, पेट्रोलियम र प्राकृतिक ग्यासजस्ता जीवाश्म इन्धनको अत्यधिक प्रयोग हो।

वैज्ञानिकहरूका अनुसार पृथ्वी तात्दै जाँदा गर्मीको लहर मात्र होइन, खडेरी, डढेलो, बाढी र अन्य चरम मौसमी घटनाको आवृत्ति तथा तीव्रता पनि बढिरहेको छ। त्यसैले विश्व तापक्रम वृद्धिलाई सीमित गर्न हरितगृह ग्यास उत्सर्जन घटाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको उनीहरूको भनाइ छ।

यस साता विश्वकै सबैभन्दा तीव्र गतिमा तातिरहेको महाद्वीप युरोपका विभिन्न देशमा तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। लाखौँ मानिसले अत्यधिक गर्मीको सामना गरिरहेका छन् भने स्वास्थ्य सेवा, विद्युत् आपूर्ति तथा जनजीवनमा समेत यसको प्रत्यक्ष असर देखिएको छ।

विश्व मौसम एट्रिब्युसनका सहसंस्थापक फ्रेडेरिक ओटोले अहिलेको अवस्था कुनै असामान्य मौसमी प्रणालीभन्दा पनि दीर्घकालीन तापक्रम वृद्धिको परिणाम भएको बताए। उनका अनुसार केही दशकअघि यस्ता तापक्रम अत्यन्त दुर्लभ मानिन्थे, तर अहिले तिनै अवस्था क्रमशः सामान्य बन्दै गइरहेका छन्।

अध्ययनमा सन् २००३ को विनाशकारी युरोपेली गर्मीको लहरसँग पनि अहिलेको अवस्थाको तुलना गरिएको छ। सन् २००३ मा युरोपभर फैलिएको गर्मीका कारण दशौँ हजार मानिसको मृत्यु भएको थियो। वैज्ञानिकहरूका अनुसार अहिले देखिएको उष्ण लहर कतिपय क्षेत्रमा त्यसबेलाभन्दा पनि बढी तीव्र देखिएको छ।

अनुसन्धानले देखाएअनुसार यदि सन् २००३ को घटना अहिलेको जस्तो जलवायु परिस्थितिमा नभएको भए त्यसबेलाको तापक्रम पनि करिब २ डिग्री सेल्सियस कम हुने थियो। त्यति बेला रातिको तापक्रम अत्यधिक बढ्ने सम्भावना पनि अहिलेको तुलनामा निकै कम थियो।

वैज्ञानिकहरूको विश्लेषणअनुसार पछिल्ला दुई दशकमा चरम गर्मीका घटनाहरू दसौँदेखि सयौँ गुणासम्म बढेका छन्। यसले जलवायु परिवर्तनले पृथ्वीको मौसमीय प्रणालीलाई तीव्र रूपमा परिवर्तन गरिरहेको स्पष्ट संकेत दिएको उनीहरूको निष्कर्ष छ।

अध्ययनले यसपटकको उष्ण लहरमा एल निनोजस्ता प्राकृतिक मौसमी चक्रको प्रभाव नगण्य रहेको पनि उल्लेख गरेको छ। अर्थात्, अहिले देखिएको अत्यधिक गर्मी मुख्य रूपमा मानवसिर्जित तापक्रम वृद्धिकै परिणाम हो।

फ्रेडेरिक ओटोका अनुसार अत्यधिक तापक्रमसँगै उच्च आर्द्रताले ‘गर्मी तनाव’ को जोखिम झन् बढाउँछ। यस्तो अवस्थामा शरीरको तापक्रम नियन्त्रण गर्ने प्राकृतिक प्रणाली कमजोर बन्दा चक्कर लाग्ने, टाउको दुख्ने, निर्जलीकरण हुने, मुटु तथा मिर्गौलामा असर पर्ने र गम्भीर अवस्थामा ज्यानसमेत जान सक्ने खतरा रहन्छ।

अध्ययनमा समेटिएका युरोपका करिब ८५० सहरमध्ये झन्डै ४५ प्रतिशतले जुन महिनामै इतिहासकै उच्च ‘गर्मी तनाव’ को रेकर्ड तोडेका छन् वा त्यही स्तरमा पुगेका छन्। यसले अहिलेको उष्ण लहर केवल तापक्रमको तथ्यांक मात्र नभई प्रत्यक्ष जनस्वास्थ्य संकटका रूपमा समेत विकसित भइरहेको संकेत गरेको वैज्ञानिकहरूले बताएका छन्।

यसअघि मे महिनामै युरोपको मध्य तथा पश्चिमी क्षेत्रमा असामयिक गर्मीको लहर देखिएको थियो। छोटो अवधिमै दोस्रो पटक अत्यधिक गर्मी अनुभव गर्नुपरेको अवस्थाले भविष्यमा यस्ता घटना अझ बारम्बार दोहोरिन सक्ने चिन्ता बढाएको छ।

विश्व मौसम एट्रिब्युसन समूहले भविष्यमा यस्ता घातक उष्ण लहरबाट हुने जनधनको क्षति कम गर्न जीवाश्म इन्धनको प्रयोग तीव्र रूपमा घटाउने, नवीकरणीय ऊर्जामा लगानी बढाउने तथा जलवायु अनुकूलनका उपायहरू तत्काल कार्यान्वयन गर्न विश्व समुदायलाई आग्रह गरेको छ।

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा असार १६ गते सुनुवाइ हुने

काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरण (ह्याबियस कर्पस) सम्बन्धी रिट निवेदनमाथि सर्वोच्च अदालतले असार १६ गते सुनुवाइ गर्ने भएको छ।

पौडेलकी पत्नी दोमाया पौडेलले उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै असार १० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन्। उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश दिएको छ।

अदालतले सोही आदेशअनुसार असार १६ गते दुवै पक्षको बहस सुन्ने मिति तोकेको हो।

विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई असार ९ गते विशेष अदालत काठमाडौंमा उपस्थित गराइएको थियो।

विशेष अदालतले अनुसन्धानका लागि उनलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि अनुसन्धान अघि बढाइरहेको छ।

यसैबीच, बन्दीप्रत्यक्षीकरणको रिटमार्फत पौडेल पक्षले हिरासत गैरकानुनी रहेको दाबी गर्दै तत्काल रिहाइको माग गरेको छ भने सरकारका तर्फबाट अनुसन्धान कानुनी प्रक्रियाअनुसार अघि बढाइएको जिकिर गरिने अपेक्षा गरिएको छ।

रातभरि रविले रिझाएपनि रास्वपामा रडाको ज्युँका त्यूँ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा नेतृत्वले पदाधिकारीहरू सर्वसम्मतिबाट चयन गर्ने प्रयास गरे पनि अन्ततः निर्वाचनमै जानुपर्ने अवस्था बनेको छ। यसले पार्टीभित्र नेतृत्वको चाहना,आकांक्षीहरूको राजनीतिक दाबी र लोकतान्त्रिक अभ्यासबीचको सन्तुलनबारे नयाँ बहससमेत जन्माएको छ।

पहिलो चरणको निर्वाचनबाट ९९ सदस्यीय केन्द्रीय समिति चयन भइसकेपछि सभापति रवि लामिछानेको प्राथमिकता बाँकी पदाधिकारीहरूलाई सहमतिमार्फत चयन गर्ने थियो। महाधिवेशन लम्बिँदा प्रतिनिधिलाई थप समय चितवनमै बस्नुपर्ने, निर्वाचनले समय र स्रोत दुवै खर्च हुने तथा नेतृत्व चयनपछि पार्टीलाई तत्काल संगठन निर्माणमा केन्द्रित गर्नुपर्ने उनको बुझाइ रहेको बताइन्छ। यही कारण उनले उम्मेदवारहरूसँग पटक–पटक छलफल गरी प्रतिस्पर्धाभन्दा सहमतिमा जोड दिएका थिए।

महाधिवेशनस्थल चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा बिहीबार साँझदेखि शुक्रबार बिहान साढे ४ बजेसम्म लामिछानेले पदाधिकारीका आकांक्षीहरूसँग निरन्तर संवाद गरेका थिए। सामूहिक बैठक मात्र होइन, उम्मेदवारलाई एक–एक गरी भेटेर पनि उनले सहमतिका लागि आग्रह गरेको स्रोतहरूको भनाइ छ। नेतृत्वले निर्वाचनभन्दा संगठनात्मक एकतालाई प्राथमिकता दिनुपर्ने सन्देश दिन खोजेको देखिन्छ।

सर्वसम्मतिको प्रयास केही हदसम्म सफल पनि भयो। उपसभापति पदका उम्मेदवार विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि डा. स्वर्णीम वाग्ले निर्विरोध निर्वाचित भए। त्यसपछि महामन्त्री, महिला उपसभापति तथा सहमहामन्त्री पदमा पनि सहमति जुटाउने प्रयास भयो। महामन्त्रीका आकांक्षी शिशिर खनालले उम्मेदवारी नदिने निर्णय गर्दै विपिन आचार्यलाई समर्थन गरे।

त्यसपछि प्रमोद न्यौपाने, गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, जगदीश खरेललगायत नेताले पनि उम्मेदवारी फिर्ता लिएर एउटै उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरे।

यही घटनाक्रमले भने महाधिवेशनको राजनीतिक बहसलाई अर्को मोड दियो। एक पक्षले यसलाई संगठनभित्र एकता कायम गर्ने प्रयासका रूपमा व्याख्या गरिरहेको छ भने अर्को पक्षले यसलाई समूहगत शक्ति प्रदर्शनको रूपमा हेरेको छ। विशेषगरी एउटै उम्मेदवारको पक्षमा सामूहिक रूपमा उम्मेदवारी फिर्ता लिने निर्णयले पार्टीभित्र अनौपचारिक ध्रुवीकरणको चर्चा पनि बढाएको छ।

यद्यपि सबै उम्मेदवार भने सहमतिमा तयार भएनन्। मनिष झा, विपिन आचार्य, गणेश कार्की र सागर ढकाल अन्तिमसम्म प्रतिस्पर्धामा उभिने निर्णयमा अडिग रहे। उनीहरूको तर्क थियो, लोकतान्त्रिक पार्टीमा प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गरेर नेतृत्व छान्न पाउनुपर्छ। सहमति सम्भव भए स्वागतयोग्य भए पनि निर्वाचनलाई अस्वाभाविक रूपमा लिन नहुने उनीहरूको धारणा थियो।

महामन्त्रीका उम्मेदवार मनिष झाले सहमतिको नाममा उम्मेदवारी फिर्ता लिन दबाब दिनु उचित नहुने बताएका छन्। उनका अनुसार आफूले सुरुदेखि नै महामन्त्रीमा दाबी प्रस्तुत गरेका हुन् र आफ्नो उम्मेदवारी कुनै बार्गेनिङ वा सम्झौताका लागि नभई पार्टी सुधारको स्पष्ट एजेन्डासहित अघि बढाइएको हो। उनले नेतृत्व प्रतिनिधिको स्वतन्त्र निर्णयबाट आउँदा मात्रै त्यसले वैधता र अपनत्व प्राप्त गर्ने बताएका छन्।

अर्कोतर्फ, विपिन आचार्यलाई समर्थन गर्ने नेताहरूले भने आफ्नो निर्णयलाई व्यक्तिगत लाभभन्दा संगठनको हितसँग जोड्ने प्रयास गरेका छन्। उनीहरूका अनुसार एउटै धारका उम्मेदवार धेरै हुँदा मत विभाजन हुने भएकाले साझा उम्मेदवारमार्फत संगठनलाई बलियो बनाउने उद्देश्यले समर्थन गरिएको हो।

रास्वपाको महाधिवेशनले अर्को महत्वपूर्ण सन्देश पनि दिएको छ। पार्टीभित्र सर्वसम्मतिको संस्कृति विकास गर्ने नेतृत्वको चाहना र निर्वाचनमार्फत नेतृत्व चयन हुनुपर्ने आकांक्षीहरूको अडान दुवै समानान्तर रूपमा देखिएका छन्।

नयाँ राजनीतिक दलका रूपमा रास्वपाले सहमति र प्रतिस्पर्धा दुवैलाई कसरी व्यवस्थापन गर्छ भन्ने प्रश्न आगामी दिनमा अझ महत्वपूर्ण बन्ने देखिएको छ।

अन्ततः सर्वसम्मतिको प्रयास निष्कर्षमा पुग्न नसकेपछि महिला उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री र एक महिला सहमहामन्त्री गरी पाँच पदका लागि २२ जना उम्मेदवार निर्वाचनमा उत्रिएका छन्।

सुकुम्बासीको खानामा किरा भेटिँदा सरकारलाई के कारबाही हुन्छ ?

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको घटनाको प्रसंग उठाउँदै सुकुम्बासीलाई वितरण गरिएको खानामा किरा भेटिएको विषयमा सरकारसँग जवाफ मागिएको छ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद रेनु चन्दले गृहमन्त्रीलाई प्रश्न गर्दै अम्लेटमा माछाको काँडा भेटिएको घटनामा सम्बन्धित व्यवसायीलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको स्मरण गराइन्।

त्यसै सन्दर्भलाई जोड्दै उनले सुकुम्बासीलाई उपलब्ध गराइएको खानामा किरा भेटिएको घटनामा सरकारमाथि के कारबाही हुन्छ भन्ने प्रश्न उठाइन्।

‘मन्त्रीले खान लागेको अम्लेटमा काँडा भेटियो, तीन लाख जरिवाना लगाउनुभयो, त्यो ठीक गर्नुभयो,’ उनले भनिन्, ‘तर सुकुम्बासीको खानामा किरा भेटिँदा सरकारलाई कति जरिवाना लगाइँदैछ ? अथवा सरकारमाथि के कारबाही हुँदैछ ?’

सांसद चन्दले सुकुम्बासी व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेर जनमत प्राप्त गरेको सरकारले अहिले उनीहरूमाथि अन्यायपूर्ण व्यवहार गरिरहेको आरोप लगाइन्। होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई समेत हटाउने प्रयास भइरहेको भन्दै उनले त्यसप्रति आपत्ति जनाइन्।

‘सुकुम्बासीलाई व्यवस्थापन गर्छौँ भनेर भोट माग्ने, अनि सत्तामा पुगेपछि उठिबास लगाउने ? यही हो जान्नेलाई छान्ने भनेको ?’ उनले भनिन्, ‘अहिले सरकारले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट समेत लखेट्ने काम गरिरहेको छ।’

उनले आफूलाई नयाँ सोच र सबै समस्या समाधान गर्ने दाबीका साथ सरकारमा आएको बताउने नेतृत्वले अहिले सुकुम्बासी समुदायको मानवअधिकारमाथि नै आघात पुर्‍याएको आरोप पनि लगाइन्।

सांसद चन्दले सुकुम्बासीको खाद्य सुरक्षा, आवास र आधारभूत अधिकार सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने मागसमेत गरिन्।

जितका बाबजुद यसरी बाहिरियो टर्कि

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको समूह चरणमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेको छ। तर जितका बाबजुद टर्की प्रतियोगिताबाट बाहिरिएको छ।

खेलको सुरुवातमै दुवै टोलीले आक्रामक प्रदर्शन गरेका थिए। अमेरिकाका लागि अस्टिन ट्रस्टीले तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए। तर टर्कीएले १०औँ मिनेटमा अर्दा गुलरको गोलमार्फत खेललाई बराबरीमा ल्यायो।

पहिलो हाफमै टर्कीएले खेलमा पकड बनाउँदै ३१औँ मिनेटमा ओर्कुन कोकुले गोल गर्दै २–१ को अग्रता दिलाए। दोस्रो हाफमा अमेरिका ४९औँ मिनेटमा सेबस्टियन बरहाल्टरको गोलमार्फत पुनः बराबरीमा फर्कियो।

निर्णायक क्षण भने खेलको इन्जुरी समयको आठौँ मिनेटमा आयो, जहाँ कान आयहानले गोल गर्दै टर्कीलाई ३–२ को रोमाञ्चक जित दिलाए।

यसअघि टर्कीए पाराग्वे र अस्ट्रेलियासँग पराजित भइसकेको थियो, जसका कारण अन्तिम खेलमा जित निकाल्दा पनि समूह चरण पार गर्न सकेन।

समूह डीमा अमेरिका भने दुई जित र एक हारसहित ६ अंकका साथ शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ। अस्ट्रेलिया र पाराग्वेबीचको खेल गोलरहित बराबरीमा सकिएपछि दुवै टोली चार–चार अंकसहित नकआउट चरणमा पुगेका छन्।

यस नतिजासँगै समूह डीको अन्तिम समीकरण पूरा भएको छ, जसमा अमेरिका समूह विजेता बनेको छ भने अस्ट्रेलिया र पाराग्वे पनि अघिल्लो चरणमा प्रवेश गरेका छन्।

स्याङ्जामा जीप दुर्घटना : एक जनाको मृत्यु, २० घाइते

स्याङ्जा। स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

वालिङ नगरपालिका–७, लभ्ली डाँडास्थित मिर्दि–चापाकोट सडकखण्डमा वालिङतर्फ आइरहेको बा एए ७९०५ नम्बरको डबल क्याब बोलेरो जीप आज बिहान अनियन्त्रित भई पल्टिँदा स्थानीय २५ वर्षीय राजेन्द्र बिरकट्टाको मृत्यु भएको हो।

दुर्घटनामा २० जना घाइते भएका छन्। घाइते हुनेमा वालिङ–७ का ४६ वर्षीया रुपकला सारु, ४५ वर्षीया जैकला सारु, ४९ वर्षीया गौमाया सारु, ५९ वर्षीय बेलबहादुर आले, ३० वर्षीय कुमार सारु, ३८ वर्षीया ज्ञानुमाया सारु र वडा नं. ६ का ३९ वर्षीय टोपबहादुर थापा रहेका छन्।

त्यस्तै रुपन्देहीकी ५५ वर्षीया सुमित्रा गुरुङ, ४० वर्षीया सावित्रा मगर, ५१ वर्षीया धनकुमारी उचाई, ५१ वर्षीया नन्दकुमारी राना, ७३ वर्षीया भिमकुमारी थापा, ४७ वर्षीया लालसुवा थापा, नवलपरासी पूर्वकी ४१ वर्षीया मायादेवी सुनारी, उनकी १२ वर्षीया छोरी कर्मिसा, गैडाकोटकी २६ वर्षीया आस्मा तामाङ सारु र उनकी २० महिने छोरी प्रिन्सा पनि घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये १७ जनालाई थप उपचारका लागि पोखरा र दुई जनालाई बुटवल पठाइएको छ। एक बालकको उपचार वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको छ।

दुर्घटनापछि जीप चालक वालिङ–७ का २८ वर्षीय मिनबहादुर सारुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एमालेसँग तत्काल एकता गर्ने प्रचण्डको दाबी

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग तत्काल एकताको तयारी भइरहेको बताएका छन्।

विराटनगरमा शुक्रबार आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले एमालेसहित अन्य वामपन्थी दल र लोकतान्त्रिक शक्तिहरूसँग पनि संवाद भइरहेको जानकारी दिए।

प्रचण्डले आगामी महाधिवेशनबाट फेरि एकपटक ‘क्रमभङ्ग’ हुने संकेत गर्दै पार्टीको राजनीतिक रणनीतिमा नयाँ मोड आउने दाबी गरे। साथै, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारलाई पनि प्राथमिकतामा राखिने उनको भनाइ थियो।

यता, एमालेभित्र नेतृत्व परिवर्तनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओली ले पूर्वराष्ट्रपति विद्या भण्डारी लाई अघि सारेर प्रचण्ड र माधव नेपाल सँग वाम एकताको सम्भावना खोजिरहेको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।

गुटबन्दी गर्नेलाई कारबाही गर्न रवि गुहार्दै मनिष झा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र गुटबन्दीको प्रयास गर्ने नेतामाथि कारबाही गर्न सभापति रवि लामिछानेलाई आग्रह गरेका छन्।

पदाधिकारी निर्वाचनका लागि मतदान सुरु हुनुअघि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले उम्मेदवारी फिर्ता गरी एक उम्मेदवारको पक्षमा खुलेर समर्थन जुटाउने गतिविधिले पार्टीभित्र गलत सन्देश गएको टिप्पणी गरे।

महामन्त्री पदका आकांक्षी कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, रञ्जु दर्शना, प्रमोद न्यौपाने, जगदीश खरेललगायतले उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गरेका छन्। यसबारे टिप्पणी गर्दै झाले उनीहरूले व्यक्तिगत लाभका लागि मात्रै उम्मेदवारी दिएको आरोप लगाए।

‘मैले अरूजस्तो दुई–चार घण्टाका लागि मात्र उम्मेदवारी दिएको होइन,’ उनले भने, ‘मैले छ दिनअघि नै महामन्त्रीमा दाबी प्रस्तुत गरेको हुँ। आफ्नो अडानमा अहिले पनि दृढ छु, उहाँहरूजस्तो कुनै सम्झौता गर्दिनँ।’

‘तपाईंलाई एक्लो पार्ने प्रयास भएको हो ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा झाले पार्टी नेतृत्वलाई गुटगत गतिविधिप्रति कडा कदम चाल्न आग्रह गरे। ‘म सभापतिज्यूलाई आग्रह गर्न चाहन्छु, गुटबन्दी गर्ने प्रयास गर्नेहरूलाई कारबाही गरिदिनुस्,’ उनले भने।

महामन्त्री पदका लागि प्रारम्भमा नौ जनाले उम्मेदवारी दिएका थिए। तीमध्ये पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि अब मनिष झा, विपिन आचार्य, गणेश कार्की र सागर ढकालबीच प्रतिस्पर्धा हुने भएको छ।

भारतमा एआई विस्तार गर्न अमेजनले किन खन्याउँदैछ थप १३ अर्ब डलर ?

काठमाडौं। अमेरिकी प्रविधि कम्पनी अमेजनले भारतमा कृत्रिम बुद्धिमत्ता (एआई) र क्लाउड पूर्वाधार विस्तारका लागि सन् २०३० सम्म थप १३ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ।

यो लगानी यसअघि घोषणा गरिएको ३५ अर्ब डलरको योजनाबाहेकको हो। नयाँ प्रतिबद्धतासँगै सन् २०३० सम्म भारतमा अमेजनको कुल लगानी ४८ अर्ब डलर पुग्नेछ।

रोयटर्सका अनुसार उक्त घोषणा अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी ज्यासी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार नयाँ दिल्लीमा भएको भेटवार्तापछि सार्वजनिक गरिएको हो।

एन्डी ज्यासीले सामाजिक सञ्जाल एक्समार्फत भारतमा आगामी पाँच वर्षभित्र ४८ अर्ब डलर लगानी गर्ने योजना साझा गरिएको जानकारी दिएका छन्। उनका अनुसार यसमध्ये २१ अर्ब डलरभन्दा बढी रकम एआई र क्लाउड पूर्वाधार विकासमा खर्च गरिनेछ।

अमेजनका अनुसार थप १३ अर्ब डलरको लगानी मुख्यतः मुम्बई र हैदराबादमा एआई तथा क्लाउड पूर्वाधार विस्तारमा केन्द्रित हुनेछ। यसबाट डाटा सेन्टरको क्षमता वृद्धि, क्लाउड सेवा विस्तार तथा एआईसम्बन्धी प्रविधि विकासलाई गति मिल्ने अपेक्षा गरिएको छ।

पछिल्ला वर्षहरूमा विश्वका प्रमुख प्रविधि कम्पनीहरूले भारतलाई एआई, क्लाउड कम्प्युटिङ र डाटा पूर्वाधार विस्तारका लागि प्राथमिक गन्तव्य बनाउँदै आएका छन्। ठूलो डिजिटल बजार, तीव्र रूपमा बढ्दो इन्टरनेट प्रयोगकर्ता संख्या र सरकारी डिजिटल नीतिका कारण भारत विश्वव्यापी प्रविधि लगानीको प्रमुख केन्द्रका रूपमा उदाइरहेको विश्लेषण गरिएको छ।

यसअघि माइक्रोसफ्टले पनि भारतमा एआई र क्लाउड पूर्वाधार विस्तारका लागि १७.५ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो। त्यस्तै, गुगलले आगामी पाँच वर्षभित्र एआई डाटा सेन्टर निर्माण तथा सम्बन्धित पूर्वाधार विकासका लागि १५ अर्ब डलर लगानी गर्ने योजना सार्वजनिक गरिसकेको छ।

प्रविधि क्षेत्रका यी ठूला लगानीले भारतमा डिजिटल पूर्वाधार सुदृढ हुनुका साथै एआई अनुसन्धान, क्लाउड सेवा विस्तार र उच्च दक्ष जनशक्ति विकासमा समेत उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रचण्डको अन्तिम क्रमभंग हेर्नुस्

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी र लोकतान्त्रिक शक्तिबीच सहकार्यको वातावरण बन्ने बताएका छन्।

उनले नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग तत्काल सहकार्यका विषयमा छलफल भइरहेको जानकारी दिएका हुन्।

विराटनगरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले आगामी महाधिवेशनबाट महत्वपूर्ण राजनीतिक निर्णय हुने संकेत गरे। उनले महाधिवेशनले पार्टीको भावी राजनीतिक दिशा तय गर्ने विश्वास व्यक्त गरे।

आफ्नो सम्बोधनका क्रममा उनले आगामी महाधिवेशनमा ‘अर्को क्रमभंग’ हुने दाबी पनि गरे। ‘प्रचण्डको अन्तिम क्रमभंग हेर्नुस्, अब कस्तो हुन्छ ?’ भन्दै उनले आगामी निर्णयले नेपाली राजनीतिमा नयाँ सन्देश दिने संकेत गरेका छन्।

प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिमा वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र नयाँ राजनीतिक समीकरणबारे विभिन्न तहमा संवाद भइरहेको पनि उल्लेख गरे।

एउटै मञ्चमा देखिँदै ओली, ‘प्रचण्ड’, माधव र झलनाथ

काठमाडौं। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने विशेष विचार गोष्ठीमा मुलुकका प्रमुख कम्युनिस्ट नेताहरू लामो समयपछि एउटै मञ्चमा सहभागी हुने भएका छन्।

मदन भण्डारी फाउन्डेसनले असार १४ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी आयोजना गर्न लागेको हो।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय गरिएको छ। विचार गोष्ठीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेकपा नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्नेछन्।

आयोजकका अनुसार कार्यक्रममा नेपालको कम्युनिस्ट आन्दोलन, जननेता मदन भण्डारीको राजनीतिक योगदान तथा समकालीन राजनीतिक परिवेशका विषयमा विचार विमर्श गरिनेछ।

मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर आयोजित कार्यक्रममै ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पनि प्रदान गरिने फाउन्डेसनले जनाएको छ।

चार पूर्वप्रधानमन्त्रीको बिचमा विधादेवी भण्डारी प्रमुख अतिथि हुने कुराले कार्यक्रमलाई झन् रोचक बनाएको छ।  एकातिर कम्युनिष्ट पार्टीहरुको एकताको चर्चा चलिरहेका बेला एमाले अध्यक्ष ओलीले पूर्वरास्ट्रपति भण्डारीलाई अगाडि सारेर वाम एकताको छनक पनि दिइरहेका छन्। यसै सन्दर्भमा मदन जयन्तीका अवसरमा जनता समाजवादी पार्टी लगायतको सहभागितामा हुने कार्यक्रममा भण्डारी प्रमुख अतिथि हुने कुराले झन् चासो बढाएको छ।

गत २१ फागुनको निर्वाचनमा ठुलो धक्का लागेपछि वाम धारका दलहरुका बीचमा एकताको चर्चा पनि चल्दै आएको छ। अर्कोतिर आज मात्रै नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहालले नेकपा एमालेसँग चाँडै एकता हुने उद्घोष गरेका छन्।  विराटनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सडक, सदन, प्रदेश र स्थानिय तहसम्मै नेकपा एमालेसँग सहकार्यको तयारी भइरहेको बताएका हुन्।  यसले आइतबार राष्ट्रिय सभामा हुने कार्यकमलाई झानी रोचक बनाउदै लगेको छ।

प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकमा समसामयिक राजनीतिक अवस्था, प्रशासनिक विषय तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न एजेन्डामाथि छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा सरकारका नियमित कार्यसूचीसँगै मुलुकको समसामयिक अवस्था, नीतिगत निर्णय तथा विकास आयोजनाको प्रगतिबारे पनि समीक्षा भइरहेको बताइएको छ।

बैठकले गरेका निर्णयहरू औपचारिक रूपमा सार्वजनिक भएपछि विस्तृत विवरण आउने अपेक्षा गरिएको छ।

गुटै गुटको रास्वपा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तिम चरणमा पुग्दै गर्दा पार्टीभित्र दुई फरक धारको प्रभाव पदाधिकारी चयन प्रक्रियामा स्पष्ट रूपमा देखिएको छ।

सर्वसम्मतिको प्रयास भए पनि उम्मेदवारहरूको समर्थन र उम्मेदवारी फिर्ताको क्रमले संस्थापन पक्ष र अर्को धारबीचको ध्रुवीकरण सतहमा आएको हो।

रास्वपामा स्थापना कालदेखि सक्रिय नेताहरू र पछि पार्टीमा आबद्ध भएकाहरूबीच केही राजनीतिक मुद्दामा फरक धार देखिँदै आएको छ। महाधिवेशनका क्रममा पदाधिकारी चयनतर्फ बढ्दै जाँदा यही विभाजन उम्मेदवारहरूको समर्थन र चुनावी रणनीतिमा समेत प्रतिबिम्बित भएको छ।

महाधिवेशन उद्घाटन समारोहमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहले पार्टीभित्र कुनै गुटबन्दी नरहेको दाबी गर्दै प्रतिनिधिहरूलाई समूहगत राजनीतिबाट टाढा रहन आग्रह गरेका थिए। उनीहरूले संगठनलाई व्यक्तिको होइन, संस्थाको रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

तर पदाधिकारी चयनको चरणमा आइपुग्दा विभिन्न उम्मेदवारको समर्थन र उम्मेदवारी फिर्ताको निर्णयले पार्टीभित्रको ध्रुवीकरणबारे चर्चा सुरु भएको छ।

महामन्त्री पदका उम्मेदवार रहेका प्रमोद न्यौपानेले उम्मेदवारी फिर्ता लिँदै विपिनकुमार आचार्यलाई समर्थन गरेका छन्। समर्थन घोषणापछि उनले सामाजिक सञ्जालमा एउटा सामूहिक तस्बिर सार्वजनिक गर्दै ‘खासमा गुट चाहिँ यही हो है। असली चित्र चाहिँ मान्यज्यूहरूले देखाउनुभयो। पेवा होइन संगठन’ भन्ने टिप्पणी गरेका छन्।

यसअघि केन्द्रीय सदस्य निर्वाचनअघि पनि केही प्रतिनिधिलाई उम्मेदवारहरूको नाम समेटिएको सूची (चिट) वितरण गरिएको चर्चा चलेको थियो। पदाधिकारी निर्वाचनमा भने संस्थापन पक्षका नेताहरू एउटै उम्मेदवारको पक्षमा उभिएको देखिएको छ।

महामन्त्री पदका आकांक्षी प्रमोद न्यौपानेसँगै गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, शिशिर खनाल र जगदीश खरेलले पनि उम्मेदवारी फिर्ता लिँदै विपिनकुमार आचार्यलाई समर्थन गरेका छन्। यससँगै महामन्त्री पदको प्रतिस्पर्धा सीमित उम्मेदवारबीच केन्द्रित भएको छ।

यद्यपि पार्टी नेतृत्वले भने महाधिवेशनलाई लोकतान्त्रिक प्रतिस्पर्धाको अभ्यासका रूपमा व्याख्या गर्दै निर्वाचन प्रक्रियाबाट नै नयाँ नेतृत्व चयन हुने जनाएको छ।

लभ! लभ! लभ! भन्दै पेलेको भावुक बिदाइ

सन् १९७७ अक्टोबर १ अमेरिकाको जायन्ट्स स्टेडियमम।  विश्व फुटबलका महान खेलाडीमध्ये एक पेले व्यावसायिक फुटबलबाट बिदा हुँदै थिए। र उनको सम्मानमा आयोजित विशेष खेल हेर्न हजारौँ दर्शक, खेलकुदका हस्ती र विश्वप्रसिद्ध व्यक्तित्वहरू पनि भेला भएका थिए।

तर त्यस दिनको सबैभन्दा अविस्मरणीय क्षण खेलको नतिजा वा गोल थिएन। खेल समाप्त हुनुअघि मैदानमा देखिएको एउटा भावुक दृश्यले उक्त दिनलाई खेल इतिहासकै सबैभन्दा ऐतिहासिक दिन बनायो।

साँच्चै त्यो दिन पेलेकै दिन थियो, र सबैले उनलाई उचित सम्मान दिएका थिए। जब कूटनीतिज्ञहरू र खेलकुदका चर्चित व्यक्तित्वहरूको परिचय गराइयो, उनीहरू पनि  पेलेप्रतिको सम्मानस्वरूप मौन रहे। सधैं बोलिरहने मुहम्मद अलीसमेत त्यस दिन निःशब्द थिए।

जब पेलेलाई उपहार र सम्मान अर्पण गर्ने समय आयो, उनीहरूले सकेसम्म छोटकरीमा आफ्ना भनाइ राखे र त्यसपछि मञ्चको माइक्रोफोन पेलेका लागि छाडिदिए। त्यसपछि स्टेडियमभरि कुहिरोजस्तै मौनता छायो।

‘महिला तथा सज्जनवृन्द,’ पेलेले भने, आफ्ना काँपिरहेका शब्दलाई थाम्न खोजेजस्तै गरी हात टाउको पछाडि राख्दै। ‘मेरो जीवनको यो सबैभन्दा महान् क्षणमा तपाईंहरूसँग यहाँ उपस्थित हुन पाउँदा म अत्यन्त खुसी छु। म तपाईंहरू प्रत्येकलाई धन्यवाद दिन चाहन्छु। यो अवसरमा म संसारभरिका युवाहरू, बालबालिकाप्रति ध्यान दिन आग्रह गर्न चाहन्छु। हामीलाई उनीहरूको अत्यन्त आवश्यकता छ। र म तपाईंहरूलाई भन्न चाहन्छु, किनभने म विश्वास गर्छु, म मान्छु कि प्रेम नै… प्रेम नै… प्रेम नै…।’

उनका आँखामा आँसु भरिए र त्यसलाई रोकिराख्न उनी असमर्थ भए। आफूलाई सम्हाल्ने प्रयास गर्दै उनले काँपिरहेको स्वरमा कुरा अगाडि बढाए।

‘प्रेम जीवनमा हामीले प्राप्त गर्न सक्ने कुनै पनि कुराभन्दा महत्त्वपूर्ण छ। सबै कुरा बितेर जान्छ। कृपया मसँग तीनपटक भन्नुहोस् प्रेम! प्रेम! प्रेम!’

स्कोरबोर्डमा ‘लभ’ शब्द चम्किँदा पेलेले हजारौँ दर्शकलाई आफ्नो सन्देश दोहोर्याएको सुने। तीनपटक, ‘प्रेम! प्रेम! प्रेम!’ त्यो क्षण उनका लागि अत्यन्त भावुक बन्यो। आँसुका कारण स्वर हराउनुअघि उनले केवल एउटा वाक्य मात्र भन्न सके।

‘धेरै धेरै धन्यवाद।’

त्यसपछि ७५ हजार ६४६ दर्शकको सामुन्ने उनले आफ्ना हातले अनुहार छोपे र आफ्ना कोसमसका सहकर्मी तथा देशबन्धु कार्लोस अल्बेर्टोको साथमा सान्त्वना पाए। त्यसपछि उनकी पत्नी र बुवा पनि मैदानमा आए। पेलेले उनीहरूलाई अँगालो हाले, उनीहरूले उनलाई कस्सिएर समाते र उनीसँगै भावुक बने।

त्यो दिन पेलेले प्रतिस्पर्धात्मक व्यावसायिक फुटबल खेलाडीका रूपमा आफ्नो करिअरको अन्त्य गरेका थिए। कोसमस क्लबको मालिक वार्नर कम्युनिकेसन्सले पेलेको सम्मानमा विशेष प्रदर्शनी खेल आयोजना गरेको थियो। जसमा उनको पुरानो ब्राजिली क्लब सान्तोस प्रतिद्वन्द्वी थियो। पेलेले पहिलो हाफ कोसमसका लागि र दोस्रो हाफ सान्तोसका लागि खेले।

खेल २-१ को अन्तरले कोसमसले जित्यो। खेलको सबैभन्दा महत्त्वपूर्ण क्षण पहिलो हाफ सकिन २ मिनेट ३४ सेकेन्ड बाँकी रहँदा आयो। त्यसअघि कोसमसका लागि कुनै प्रहार नगरेका पेलेले करिब ३० यार्ड टाढाबाट फ्रि-किक पाए। उनले बललाई तीव्र र शक्तिशाली रूपमा प्रहार गरे।

गोलीझैँ अघि बढेको बल सिधै सान्तोसको गोलपोस्टको बायाँ कुनामा छिर्यो। गोलरक्षक हतारिँदै लडेका थिए। तर बल जालभित्र पुगिसकेको थियो। यो पेलेको करिअरको १ हजार २ सय ८१औँ गोल थियो, जसले खेललाई १-१ को बराबरीमा ल्यायो।

दोस्रो हाफमा उनले पाँच पटक प्रहार गरे, जसमध्ये दुईलाई गोलरक्षकले बचाए। सान्तोसका खेलाडीहरूले दर्शकले चाहेजस्तो अर्को गोलको अवसर दिलाउन धेरै प्रयास गरे, तर सफल हुन सकेनन्। तथापि, पेलेले एक गोल मात्र गरेकाले त्यो दिनको उत्साह र गौरवमा कुनै कमी आएन।

खेलपछि पेलेले भने, ‘आज म अलिकति मरेजस्तो महसुस गरिरहेको छु। तर अब म नयाँ जीवनमा पुन:र्जन्मिएको छु। हेर्नुहोस्, मैले फुटबल खेल्न छाडेको हुँ किनकि म आफैँले त्यसो गर्न चाहेको थिएँ, र त्यो महत्त्वपूर्ण कुरा हो।’

पेलेको सम्मानमा वार्नरले कुनै खर्च बाँकी राखेन। मुहम्मद अली, मिक जागर, हेनरी किसिन्जर र क्लडेट कोलबर्टजस्ता विश्वप्रसिद्ध व्यक्तित्वहरू उपस्थित थिए। पछिल्ला पाँच विश्वकप विजेता टोलीका कप्तानहरू पनि त्यहाँ थिए। अमेरिकी राष्ट्रपति जिमी कार्टरका छोरा जेफ कार्टरले पेलेलाई स्मृतिचिन्ह प्रदान गरेका थिए।

तर ती सबैभन्दा बढी पेलेलाई छोएका व्यक्ति भने बालबालिका थिए। महानगरीय क्षेत्रका विभिन्न फुटबल क्लबका बालबालिकाहरूले उनको सम्मानमा प्रदर्शन गरे। केहीले उनलाई फूलसमेत दिए। पेलेले उनीहरूको उपहार ग्रहण गर्दै प्रत्येक बालकलाई माया गरेर चुम्बन गरे।

त्यो दिन प्रेमको उत्सव थियो, र पेले त्यसका अगुवा बनेका थिए।

[अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको]

रास्वपा महाधिवेशन : नाँचगान र हानहानको समिश्रण

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनको तयारी भइरहेका बेला महाधिवेशनस्थलमा नेता–कार्यकर्ताहरू नाचगानमा रमाएका छन्।

दोहोरी गायनमा रुचि राख्ने सहमहामन्त्री पदका उम्मेदवार रमेश प्रसाईंले ‘तिमलाई टाढा, मलाई नि टाढा…’ बोलको लयमा पार्टी महाधिवेशन र उम्मेदवारहरूको नाम समेटेर गीत प्रस्तुत गरेका थिए। उनको प्रस्तुतिमा अन्य सहभागीले मादल बजाएर साथ दिएका थिए।

गीतको तालमा नेता सोबिता गौतम, हरि ढकाल, असीम शाहलगायत नेता–कार्यकर्ता नाच्दै रमाएको दृश्य महाधिवेशनस्थलमा देखिएको थियो। प्रसाईंले तत्कालीन माहोलसँग मेल खाने शैलीमा गीत प्रस्तुत गर्दा उपस्थित नेता–कार्यकर्ताले ताली बजाउँदै र स्वर मिलाउँदै साथ दिएका थिए।

असार ७ गतेदेखि चितवनमा जारी महाधिवेशन अन्तिम चरणमा पुगेको छ। पदाधिकारी पदका लागि मतदान सम्पन्न भएपछि मतगणना गरी आजै अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। त्यससँगै महाधिवेशन औपचारिक रूपमा सम्पन्न हुने कार्यक्रम रहेको छ।

सहमति नजुटेपछि २२ उम्मेदवार मैदानमा

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पाँच पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ। सहमतिमार्फत नेतृत्व चयन गर्ने प्रयास सफल हुन नसकेपछि पदाधिकारी निर्वाचन मतदानबाटै टुंग्याउने निर्णय गरिएको हो।

पार्टी सभापति रवि लामिछानेले अन्तिम समयसम्म सर्वसम्मतिको प्रयास गरे पनि उम्मेदवारहरूले प्रतिस्पर्धाबाट पछि नहट्ने अडान लिएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको हो। चितवन उद्योग संघको प्रदर्शनी केन्द्रस्थित मतदानस्थलमा विद्युतीय मेसिनमार्फत प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।

निर्वाचनबाट एक महिला उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री र एक महिला सहमहामन्त्री चयन गरिनेछ। यी पाँच पदका लागि कुल २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

महिला उपसभापति पदमा सोविता गौतम र डा. तोषिमा कार्की आमनेसामने छन्। महामन्त्री पदका लागि विपिन आचार्य, मनीष झा, सागर ढकाल र गणेश कार्की चुनावी मैदानमा छन्। यसअघि उम्मेदवारी दिएका अन्य ६ जनाले आफ्नो नाम फिर्ता लिएका थिए।

त्यस्तै, दुई सहमहामन्त्री पदका लागि रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असीम शाह, अशोककुमार चौधरी, मिलन लिम्बू, पुकार बम, राजीव खत्री, विजय जैरू, हरि ढकाल र हिमेश पन्तबीच प्रतिस्पर्धा हुँदैछ।

महिला सहमहामन्त्री पदका लागि जुली यादव, जमुना शर्मा, कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन्।

यसअघि महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन्। रास्वपाको विधानअनुसार केन्द्रीय सदस्य निर्वाचित भएकामध्येबाट मात्रै पदाधिकारी चयन हुने व्यवस्था छ। पदाधिकारी निर्वाचन सम्पन्न भएसँगै पार्टीले नयाँ केन्द्रीय नेतृत्वलाई पूर्णता दिनेछ।

भेनेजुएलामा दोहोरो शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या २३५ पुग्यो, हजारौँ घाइते

एजेन्सी। उत्तरी भेनेजुएलामा लगातार ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएपछि मृत्यु हुनेको संख्या कम्तीमा २३५ पुगेको छ।

हजारौँ मानिस घाइते भएका छन् भने सयौँ व्यक्ति अझै भग्नावशेषमुनि फसेको आशंकामा उद्धार अभियान चौबीसै घण्टा जारी छ।

भेनेजुएलाका स्वास्थ्यमन्त्री कार्लोस अल्भाराडोका अनुसार हालसम्म चार हजार ३ सयभन्दा बढी घाइतेको उपचार भइरहेको छ। उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीहरूले बताएका छन्।

भूकम्पका कारण राजधानी कराकास नजिकैको उत्तरी तटीय राज्य ‘ला गुएरा’ सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ दर्जनौँ भवन पूर्ण रूपमा भत्किएका छन् भने करिब २५० वटा भवनमा पूर्ण वा आंशिक क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ। हजारौँ परिवार विस्थापित भएका छन् र प्रभावित क्षेत्रमा विद्युत्, सञ्चार तथा यातायात सेवा पनि प्रभावित भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुवै भूकम्पबीच करिब ३९ सेकेन्डको मात्र अन्तर थियो। भूगर्भविद्हरूले यसलाई ‘डबल्ट’ अर्थात् समान शक्तिका लगातार दुई मुख्य भूकम्पको दुर्लभ घटना बताएका छन्। दोस्रो भूकम्प पहिलोभन्दा अझ शक्तिशाली रहेको जनाइएको छ।

प्रभावित क्षेत्रमा उद्धार टोली, सुरक्षाकर्मी र स्वयंसेवकहरू भग्नावशेष हटाउँदै जीवित व्यक्तिको खोजीमा जुटिरहेका छन्। भारी उपकरण अभाव भएका स्थानमा स्थानीय बासिन्दाले समेत हातैले भग्नावशेष पन्छाएर उद्धारमा सहयोग गरिरहेका छन्।

सरकारले सबैभन्दा बढी प्रभावित ‘ला गुएरा’लाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेको छ। विद्यालयहरूलाई अस्थायी आश्रयस्थलमा रूपान्तरण गरिएको छ भने राहत सामग्री वितरण, स्वास्थ्य सेवा विस्तार र पुनर्स्थापनाको कामलाई तीव्रता दिइएको छ।

यस घटनापछि विभिन्न देश र अन्तर्राष्ट्रिय निकायहरूले भेनेजुएलालाई मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

संयुक्त राष्ट्रसंघले पनि उद्धार तथा राहत समन्वयमा सहयोग गरिरहेको जनाएको छ।

म कसैको फोनले राजनीतिमा आएको होइन : मनिष झा

काठमाडौं। आकांक्षीहरु धमाधम उम्मेदवारी फिर्ता लीइरहेका बेला रास्वपा नेता मनिष झाले भने आफु अन्तिम सम्म महामन्त्री पदमा लड्ने बताएका छन्।

उनले आफु कसैको फोनले राजनीतिमा आएको हैन भन्दै अन्तिम सम्म महामन्त्री पदमा लड्ने बताएका हुन्।

उनले भने,‘म कसैको फोन ले राजनीति गर्न मैदानमा आएको होईन, मा सँग राजनति गर्ने दम र आँट छ।’

पहिलो महाधिवेशनअन्तर्गत महामन्त्री पदको प्रतिस्पर्धा रोचक बनिरहेका बेला केही आकाङ्क्षीहरूले उम्मेदवारी फिर्ता लिएर विपीन आचार्यलाई समर्थन गरिरहेका छन्। तर यता झाले भने आफ्नो उम्मेदवारी कायम राख्दै अन्तिमसम्म प्रतिस्पर्धामा रहने अडान दोहोर्‍याए ।

महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले उम्मेदवारी दिएपछि तत्काल फिर्ता लिने प्रवृत्तिको आलोचना गरे। उनले राजनीति दृढता, विश्वास र प्रतिस्पर्धाको विषय भएकाले दबाब वा परिस्थितिका आधारमा पछि हट्नु उचित नहुने बताए। ‘यति आलोकाँचो राजनीति पनि गर्नुहुँदैन। हिजो राति उम्मेदवारी दिने, आज फिर्ता लिने? सशक्त राजनीति गर्न सक्ने आँट भएकाहरू भिडिरहन्छन्, परिणाम जेसुकै होस् लागिरहन्छन्,’ उनले भने।

झाले कसैको फोन वा आग्रहका आधारमा आफ्नो निर्णय परिवर्तन नगर्ने स्पष्ट गर्दै आफू अन्तिमसम्म चुनावी मैदानमा रहने बताए। उनका अनुसार नेतृत्व चयनको प्रक्रिया लोकतान्त्रिक प्रतिस्पर्धाबाटै टुंगिनुपर्छ र उम्मेदवारहरूले आफ्नो एजेन्डा तथा क्षमताका आधारमा मत माग्नुपर्छ।

महामन्त्री पदका लागि प्रारम्भिक रूपमा पाँचभन्दा बढी आकाङ्क्षी देखिए पनि पाँच जनाले उम्मेदवारी फिर्ता लिएर विपीन आचार्यलाई समर्थन गरेका छन्। त्यसपछि पनि प्रतिस्पर्धा भने कायम रहेको छ।

अहिले महामन्त्री पदका लागि विपीन आचार्य, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की र सागर ढकाल चुनावी मैदानमा छन्।

अचानक राति २-३ बजेतिर निद्रा खुल्यो ?

काठमाडौं। राति राम्रोसँग निदाएको जस्तो लागे पनि एक्कासि २ वा ३ बजेतिर आँखा खुल्ने र त्यसपछि फेरि निदाउन निकै गाह्रो हुने समस्या धेरै मानिसमा देखिन्छ।

कतिपयले यसलाई सामान्य घटना ठान्छन् भने केहीले तनाव वा गम्भीर स्वास्थ्य समस्यासँग जोडेर हेर्छन्।

विशेषज्ञहरूका अनुसार यस्तो हुनुका पछाडि शरीरको प्राकृतिक निद्रा चक्रदेखि लिएर तनाव, हर्मोनको परिवर्तन, मानसिक अवस्था र जीवनशैलीसम्मका विभिन्न कारण जिम्मेवार हुन सक्छन्।

स्वस्थ जीवनका लागि पर्याप्त र गुणस्तरीय निद्रा अत्यन्त आवश्यक मानिन्छ। मानिसको निद्रा एउटै अवस्थाबाट नचल्ने भएकाले यो हल्का निद्रा, गहिरो निद्रा र आरईएम (र्‍यापिड आई मुभमेन्ट) लगायतका विभिन्न चरणबाट गुज्रिन्छ। सामान्यतया प्रत्येक करिब ९० मिनेटमा यो चक्र दोहोरिने गर्छ। रातको पहिलो भागमा गहिरो निद्रा बढी हुने भए पनि बिहानतिर जाँदा निद्रा क्रमशः हल्का बन्दै जान्छ।

यही कारणले बिहान २ देखि ३ बजेको बीचमा शरीर हल्का निद्राको चरणमा प्रवेश गर्छ। यस समयमा सानो आवाज, हलचल वा मनमा आएका विचारले पनि मानिस सजिलै ब्युँझिन सक्छ। धेरैजसो अवस्थामा फेरि तुरुन्तै निद्रा लाग्छ। तर तनाव, चिन्ता, हर्मोनको असन्तुलन वा अन्य स्वास्थ्य समस्याका कारण पुनः निदाउन नसक्ने अवस्था सिर्जना हुन सक्छ।

विशेषज्ञहरूका अनुसार शरीरको जैविक घडी अर्थात् ‘सर्केडियन रिदम’ ले पनि यसमा महत्वपूर्ण भूमिका खेल्छ। बिहानको तयारीका लागि शरीरले क्रमशः ‘कोर्टिजल’ हर्मोन उत्पादन बढाउन थाल्छ, जसले शरीरलाई बिस्तारै सतर्क बनाउँछ। सामान्य अवस्थामा यसको प्रभाव महसुस हुँदैन, तर लगातार तनाव वा निद्रासम्बन्धी समस्या भएका व्यक्तिमा कोर्टिजलको स्तर असामान्य रूपमा बढ्दा अचानक निद्रा खुल्न सक्छ।

पनवेल अस्पतालका मनोचिकित्सक डा. ऋषभ वर्माका अनुसार राति १० वा ११ बजे सुत्ने व्यक्तिका लागि बिहान ३ बजेतिरको समय निद्रा चक्रको संवेदनशील चरण हो। त्यसबेलासम्म गहिरो निद्रा पूरा भइसकेको हुन्छ र शरीर पुनः सक्रिय हुने तयारीमा हुन्छ। यही कारणले सामान्य आवाज, छेउमा भएको हलचल वा मनमा आएका विचारले समेत सजिलै ब्युँझाउन सक्छ।

उनका अनुसार स्वस्थ व्यक्तिसमेत रातभरिमा दुईदेखि चार पटक क्षणिक रूपमा ब्युँझिन सक्छन्। तर अधिकांश अवस्थामा उनीहरू तुरुन्तै फेरि निदाउने भएकाले त्यसको स्मरणसमेत हुँदैन। समस्या तब सुरु हुन्छ, जब पूर्ण रूपमा ब्युँझिएपछि दिमागमा विभिन्न सोचहरू आउन थाल्छन् र फेरि निदाउन कठिन हुन्छ।

निद्राको गुणस्तरमा हर्मोनको पनि महत्वपूर्ण भूमिका हुन्छ। मुम्बईस्थित वकहार्ट अस्पतालका न्युरोलोजिस्ट डा. प्रशान्त मखिजाका अनुसार ‘मेलाटोनिन’ हर्मोनले राति निद्रा कायम राख्न मद्दत गर्छ भने बिहानतिर यसको मात्रा घट्दै जान्छ। त्यही समयमा कोर्टिजलको मात्रा बढ्न थाल्ने भएकाले शरीर बिस्तारै उठ्न तयार हुन्छ।

उनका अनुसार एड्रेनालिन र नोरएड्रेनालिनजस्ता हर्मोनले पनि तनाव, चिन्ता, प्यानिक डिसअर्डर वा तीव्र भावनात्मक अवस्थाका बेला निद्रामा असर पुर्‍याउन सक्छन्। साथै इन्सुलिन, वृद्धि तथा प्रजननसँग सम्बन्धित हर्मोनहरूले पनि अप्रत्यक्ष रूपमा निद्राको गुणस्तर प्रभावित गर्न सक्छन्।

विशेषज्ञहरूका अनुसार रातको समयमा बाह्य गतिविधि कम हुने भएकाले एक्कासि निद्रा खुलेपछि मस्तिष्क अधुरा काम, आर्थिक चिन्ता, पारिवारिक समस्या वा व्यक्तिगत तनावतर्फ केन्द्रित हुन सक्छ। आरईएम निद्राका बेला मस्तिष्कको भावनात्मक भाग बढी सक्रिय हुने र तर्क गर्ने भाग तुलनात्मक रूपमा कम सक्रिय हुने भएकाले त्यस्तो समयमा समस्या अझ ठूलो जस्तो महसुस हुन सक्छ।

राम्रो निद्राका लागि के गर्ने?

विशेषज्ञहरूले सुत्नुभन्दा कम्तीमा एक घण्टा अघि मोबाइल, ट्याब्लेट वा कम्प्युटरजस्ता स्क्रिनबाट टाढा रहन सुझाव दिएका छन्। त्यसको सट्टा पुस्तक पढ्ने वा हल्का सङ्गीत सुन्ने बानीले निद्रामा सहयोग पुग्न सक्छ।

सुत्नुअघि मादक पदार्थ तथा धेरै गरिष्ठ वा गुलियो खाना नखान पनि सुझाव दिइएको छ। भोक लागेको अवस्थामा हल्का तथा प्रोटिनयुक्त खानेकुरा सेवन गर्न सकिन्छ।

यदि राति निद्रा खुलेर करिब २० मिनेटसम्म पनि फेरि निदाउन नसके ओछ्यानमै छटपटाउनुको सट्टा उठेर शान्त वातावरणमा केही समय पुस्तक पढ्ने वा हल्का श्वास–प्रश्वास अभ्यास गर्ने र निद्रा लागेपछि मात्रै पुनः ओछ्यानमा फर्किनु उपयुक्त मानिन्छ।

विशेषज्ञहरूका अनुसार कहिलेकाहीँ राति ब्युँझिनु सामान्य प्रक्रिया हो। तर यो समस्या बारम्बार दोहोरिने, लामो समयसम्म निद्रा नलाग्ने वा दैनिक जीवनमा असर पार्न थालेमा चिकित्सकसँग परामर्श लिनु आवश्यक हुन्छ।

सहायक सीडीयोको सागमा कीरा भेटिएपछि…

काठमाडौं। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-२, चिसापानीस्थित रोयल कटेज प्रालिलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको आरोपमा ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीको नेतृत्वमा गएको अनुगमन टोली बालमैत्री स्थानीय तह घोषणासम्बन्धी कार्यक्रमको अनुगमनका क्रममा उक्त होटलमा खाना खान पुगेको थियो। सो क्रममा परोसिएको सागमा सङ्खे कीरा भेटिएपछि घटनाबारे तत्काल सम्बन्धित निकायलाई जानकारी गराइएको थियो।

त्यसपछि जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयलगायतका निकायको संयुक्त टोलीले होटलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा प्रयोगमा रहेका खाद्य सामग्री, भान्साको सरसफाइ तथा तयार पारिएका परिकार खाद्य स्वच्छतासम्बन्धी मापदण्डअनुसार नभएको भेटिएको प्रशासनले जनाएको छ।

अनुगमनबाट होटलले खाद्य स्वच्छतासम्बन्धी आवश्यक मापदण्ड पालना नगरेको निष्कर्ष निकाल्दै रोयल कटेज प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका क्रममा गृहमन्त्री सुदन गुरुङसहितको टोलीले चितवनको एक होटलमा अम्लेट खाँदा माछाको काँडा भेटिएको घटना पनि यतिबेला चर्चामा रहेको छ।

५१औँ दिन मनाउँदै गर्दा ‘लालीबजार’ले कति कमायो ?

काठमाडौं। गत वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ले आगामी शनिबार प्रदर्शनको ५१औँ दिन पूरा गर्ने भएको छ।

यस वर्ष रिलिज भएका नेपाली चलचित्रमध्ये व्यावसायिक रूपमा उल्लेखनीय सफलता हासिल गरेको फिल्मले घरेलु बक्स अफिसमा ९ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरिसकेको छ भने यसको आम्दानी १० करोड रुपैयाँको आँकातर्फ उन्मुख रहेको छ।

५१ दिनको सफल प्रदर्शनको अवसर पारेर फिल्मका कलाकार तथा निर्माण टोलीले विभिन्न चलचित्र हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय गरेका छन्। निर्माण कम्पनी षट्कोण आट्र्सका अनुसार प्रदर्शनरत हलहरूमा पुगेर दर्शकलाई धन्यवाद ज्ञापन गरिनेछ।

फिल्मका निर्माता तथा अभिनेता रविन्द्रसिंह बानियाँले दर्शकको निरन्तर साथ नै फिल्मको सफलताको मुख्य आधार रहेको बताए। उनले डिजिटल माध्यमको प्रभाव बढिरहेका बेला पनि कुनै नेपाली फिल्मले ५१ दिनसम्म निरन्तर दर्शकको साथ पाउनु ठूलो उपलब्धि भएको उल्लेख गर्दै त्यसको खुसी दर्शकसँग साट्न विभिन्न हलमा पुग्ने तयारी गरिएको जानकारी दिए।

यम थापाको निर्देशनमा बनेको ‘लालीबजार’ षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको हो। यसअघि यही ब्यानरबाट ‘टल्कजंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’जस्ता सफल चलचित्र निर्माण भइसकेका छन्।

फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, वीरबल चौधरी र कुन्टललगायत कलाकारको अभिनय रहेको छ।

यसै चलचित्रमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले नेपाली फिल्म क्षेत्रमा अभिनय यात्रा सुरु गरेका हुन्।

विशाल रंगमञ्चमा सक्रिय कलाकारका रूपमा परिचित छन् भने प्रशंसा जेनजी पुस्ताकी नयाँ अभिनेत्रीका रूपमा उदाएकी छन्।

आईपीओ पर्खिरहेको अम्बे स्टील्स १ करोड घाटामा

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को अनुमति पर्खिरहेको अम्बे स्टील्स लिमिटेड चालु आर्थिक वर्षको पहिलो नौ महिनामा घाटामा गएको छ।

बिक्री मूल्यमा आएको गिरावट र महँगो मौज्दात (इन्भेन्टरी) को असरका कारण कम्पनीले समीक्षा अवधिमा करिब १ करोड रुपैयाँ खुद नोक्सानी व्यहोरेको रेटिङ एजेन्सी इन्फोमेरिक्सले जनाएको हो।

यसअघि कम्पनीले सन् २०२५ मा ९ अर्ब १० करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो। त्यस्तै सन् २०२४ मा ८ अर्ब ५ करोड ९० लाख रुपैयाँ, सन् २०२३ मा ८ अर्ब ३४ करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा १० अर्ब ८७ करोड ८० लाख रुपैयाँ कारोबार गरेको थियो। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा भने कम्पनीको आम्दानी ६ अर्ब १८ करोड ८० लाख रुपैयाँ पुगेको छ।

यसैबीच कम्पनीले ६ अर्ब ३० करोड ३४ लाख रुपैयाँ बराबरको बैंक कर्जाका लागि पुनः क्रेडिट रेटिङ गराएको छ। इन्फोमेरिक्सले कम्पनीको ‘आईआरएन बीबीबी माइनस इस्युअर’ रेटिङलाई यथावत् राखेको छ। यसअन्तर्गत १ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि ‘आईआरएन बीबीबी माइनस’ तथा ४ अर्ब ४२ करोड ३५ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘आईआरएन ए३’ रेटिङ पुनः पुष्टि गरिएको छ।

रेटिङ प्रतिवेदनमा कम्पनीको स्थापित बजार, देशव्यापी वितरण सञ्जाल, अनुभवी व्यवस्थापन टोली तथा अम्बे समूहसँगको आबद्धतालाई सकारात्मक पक्षका रूपमा उल्लेख गरिएको छ। ‘अम्बे टीएमटी’ र ‘अम्बे जीआई’ ब्रान्डमार्फत कम्पनीले देशभर उत्पादन बिक्री गर्दै आएको छ। साथै आफ्नै बिलेट उत्पादन प्लान्ट सञ्चालनमा रहेकाले कच्चा पदार्थको आपूर्ति व्यवस्थापन र उत्पादन लागत नियन्त्रणमा समेत सहयोग पुगेको मूल्यांकन गरिएको छ।

यद्यपि कम्पनीको वित्तीय अवस्था भने दबाबमा रहेको इन्फोमेरिक्सले जनाएको छ। सन् २०२५ मा ४ अर्ब ७२ करोड रुपैयाँ रहेको कुल ऋण चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बढेर ६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। चालु पुँजी व्यवस्थापनका लागि बैंक ऋणमा बढ्दो निर्भरताले वित्तीय भार थप बढाएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

कम्पनीको मौज्दात र उठाउन बाँकी रकम उच्च रहेकाले नगद प्रवाहमा समेत दबाब परेको जनाइएको छ। साथै भारतबाट आयात हुने कच्चा पदार्थमा निर्भरता रहेकाले विदेशी मुद्रा विनिमय दरमा हुने उतारचढावको असर पनि कम्पनीले खेप्दै आएको छ। प्रतिवेदनअनुसार सन् २०२५ मा मात्रै कम्पनीले ३ करोड ९२ लाख रुपैयाँभन्दा बढी विदेशी विनिमय घाटा व्यहोरेको थियो।

इन्फोमेरिक्सले स्टिल उद्योगमा बढ्दो प्रतिस्पर्धा, कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव तथा नीतिगत अनिश्चिततालाई कम्पनीका प्रमुख चुनौतीका रूपमा औँल्याएको छ। यद्यपि नेपालमा पूर्वाधार, ऊर्जा तथा निर्माण क्षेत्रमा सरकारी लगानी विस्तार भइरहेकाले दीर्घकालीन रूपमा स्टिलजन्य सामग्रीको माग सकारात्मक रहने अपेक्षा गरिएको छ। आगामी दिनमा नाफा सुधार, ऋण व्यवस्थापन र चालु पुँजी नियन्त्रणमा कम्पनीले देखाउने प्रदर्शन रेटिङका लागि महत्वपूर्ण हुने एजेन्सीको निष्कर्ष छ।

अम्बे स्टील्सले प्रतिकित्ता ३०३ रुपैयाँका दरले १ करोड ११ लाख ९२ हजार ७२७ कित्ता साधारण सेयर (आईपीओ) निष्कासनका लागि सेबोनमा आवेदन दिएको छ। प्रस्तावित आईपीओ स्वीकृत भए कम्पनीले ३ अर्ब ३९ करोड १३ लाख ९६ हजार रुपैयाँ बराबरको सेयर सर्वसाधारणलाई बिक्री गर्नेछ। कम्पनीले २०८१ कात्तिकमै आईपीओ निष्कासन अनुमति माग्दै बोर्डमा आवेदन दर्ता गरेको थियो।

अम्बे समूहअन्तर्गत सञ्चालित अम्बे स्टील्स सन् २००७ अगस्ट २६ मा स्थापना भएको हो। सन् २०२३ अक्टोबर १९ मा कम्पनी सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो। रुपन्देहीको भैरहवास्थित गोनाहा-६ मा रहेको उत्पादन प्लान्टबाट कम्पनीले टीएमटी स्टिल बार, बिलेट तथा जीआई वायर उत्पादन गर्दै आएको छ। कम्पनीको वार्षिक उत्पादन क्षमता २ लाख ३८ हजार ४ सय मेट्रिक टन रहेको छ भने ग्याबियन बक्स उत्पादन क्षमता ३० लाख वर्गमिटर रहेको जनाएको छ।

कम्पनीका प्रमुख सेयरधनीमा शोभाकर न्यौपानेको २४ प्रतिशत, शिवाज न्यौपानेको १८ प्रतिशत, सज्जन अग्रवालको १२.५ प्रतिशत तथा शिवानी न्यौपानेको ११ प्रतिशत स्वामित्व रहेको छ।

महामन्त्रीमा विपिनलाई गणेशले समर्थन गरेपछि…

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री पदका आकांक्षी कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, शिशिर खनाल, जगदीश खरेल र प्रमोद न्यौपानेले विपिनकुमार आचार्यलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी नदिने तथा दर्ता गराएको उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्।

शुक्रबार चितवनमा संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरूले पार्टीको बृहत्तर हित, संगठनको एकता र साझा सन्देश प्रवाह गर्ने उद्देश्यले विपिन आचार्यलाई महामन्त्री पदका साझा उम्मेदवारका रूपमा समर्थन गर्ने निर्णय गरिएको बताएका हुन्।

उनीहरूका अनुसार संस्थापक नेताहरू एउटै धारमा उभिएर पार्टीभित्र एकताको सन्देश दिनुपर्ने निष्कर्षका साथ यो निर्णय गरिएको हो।

‘हामी सबै संस्थापक साथीहरू एउटै ठाउँमा उभिएर साझा सन्देश दिनुपर्छ भन्ने निष्कर्षमा पुगेका छौं। त्यसैले एउटै उम्मेदवारका रूपमा विपिनलाई अघि सारेका हौं,’ गणेश पराजुलीले भने, ‘हामी सबैले विपिनलाई समर्थन गर्ने निर्णय गरेका छौं।’

यसअघि रास्वपाको महामन्त्री पदका लागि विपिनकुमार आचार्यसहित आठ जनाको उम्मेदवारी परेको थियो। पाँच जना उम्मेदवार पछि हट्ने घोषणा गरेसँगै महामन्त्री पदको प्रतिस्पर्धाको समीकरणमा परिवर्तन आएको छ।

महिला उपसभापतिमा तोशीमा र सोबिताबीच प्रतिस्पर्धा, बाहिरिइन् लिमा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापति पदका लागि डा. तोशीमा कार्की र सोबिता गौतमबीच निर्वाचन हुने भएको छ।

पार्टीको निर्वाचन समितिले सहमति हुन नसकेका पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेसँगै महिला उपसभापति पदमा डा. कार्की र गौतम आमनेसामने हुने निश्चित भएको हो।

पार्टी स्रोतका अनुसार नेतृत्वले वर्तमान कोषाध्यक्ष लिमा अधिकारीलाई महिला उपसभापतिको उम्मेदवार बनाउने प्रयास गरेको थियो। तर डा. तोशीमा कार्की र सोबिता गौतम दुवैले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेपछि अधिकारीले उम्मेदवारी नदिने निर्णय भएको बताइएको छ।

यसैबीच कानुनमन्त्रीसमेत रहेकी सोबिता गौतमलाई उम्मेदवारीबारे पुनर्विचार गर्न पार्टी नेतृत्वले आग्रह गरेको स्रोतको दाबी छ।

रास्वपाले अवलम्बन गर्दै आएको ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ अर्थात् एउटै व्यक्तिलाई दोहोरो प्रमुख जिम्मेवारी नदिने नीतिका आधारमा यस्तो सुझाव दिइएको नेताहरूको भनाइ छ।

प्रचण्ड, माधव विराटनगर पुगे शेखर भेट्न

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन्।

विराटनगरस्थित कोइराला निवासमा भएको भेटमा देशको समसामयिक राजनीतिक अवस्था, पछिल्ला राजनीतिक घटनाक्रम तथा साझा चासोका विषयमा छलफल भएको जनाइएको छ।

तीन नेताबीच वर्तमान राजनीतिक परिवेश, दलहरूबीचको सम्बन्ध र राष्ट्रिय सरोकारका विषयमा समेत विचार आदानप्रदान भएको बताइएको छ।

 

रास्वपा महामन्त्रीमा ८ जनाको प्रतिस्पर्धा,को-को ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

चितवनमा जारी महाधिवेशनको दोस्रो चरणअन्तर्गत पदाधिकारी निर्वाचनका लागि सार्वजनिक गरिएको अन्तिम उम्मेदवार सूचीअनुसार प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, सञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्य महामन्त्री पदको प्रतिस्पर्धामा उत्रिएका छन्।

निर्वाचन समितिका अनुसार अन्तिम नामावली सार्वजनिक भएसँगै महामन्त्री पदका लागि आठ जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

रास्वपाको महाधिवेशन नसकिएपछि फेरि स्थगित भयो संसद् बैठक

काठमाडौं। बिहीबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक रास्वपाको महाधिवेशन जारी रहेकाले फेरि सूचना टाँसेर स्थगित गरिएको छ।

यसअघि शुक्रवार दिउँसो १ बजेसम्मका लागि सारिएको बैठक सञ्चालन हुन नसकेपछि सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक शनिबार बिहान ११ बजे बस्ने गरी सूचना जारी गरेका हुन्।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ गतेदेखि चितवनको भरतपुरमा जारी छ। नयाँ नेतृत्व चयनको प्रक्रिया लम्बिँदा महाधिवेशन अझै निष्कर्षमा पुग्न सकेको छैन।

महाधिवेशन नसकिएकै कारण प्रतिनिधि सभा बैठक प्रभावित भएको हो।

२७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाका १८ सांसद रहेका छन्।

बैठक अब शनिबार बिहान ११ बजे बस्नेछ।

731390384_2431493174029860_4221033697784973966_n

महामन्त्रीको दौडबाट बाहिरिए जगदीश खरेल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदका उम्मेदवार जगदीश खरेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

सामाजिक सञ्जालमार्फत निर्णय सार्वजनिक गर्दै खरेलले पार्टीको दीर्घकालीन हित, सहमति र एकतालाई प्राथमिकता दिँदै उम्मेदवारी फिर्ता लिएको बताएका छन्। उनले पार्टीले अझै लामो राजनीतिक यात्रा तय गर्न बाँकी रहेकाले आपसी समझदारी र एकता सुदृढ बनाउनु आवश्यक रहेको उल्लेख गरेका छन्।

यसअघि केन्द्रीय सदस्यमा निर्वाचित भएका खरेलले महामन्त्री पदमा पनि उम्मेदवारी दिएका थिए। तर पदाधिकारी चयनको मतदान सुरु हुनुअघि नै उनले प्रतिस्पर्धाबाट पछि हट्ने निर्णय गरेका हुन्।

रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत अहिले पदाधिकारी चयन प्रक्रिया जारी छ।

सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् भने उपसभापतितर्फ स्वर्णिम वाग्ले पनि निर्विरोध चयन भएका छन्।

बालेन शैलीले प्रत्यक्ष कार्यकारीमा निरङ्कुशताको जोखिम !

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेन्डा अघि सारेपछि नेपालको शासकीय स्वरूपबारे बहस फेरि चर्किएको छ।

रास्वापाले यसलाई राजनीतिक स्थिरताको उपायकाे रुपमा अर्थ्याएकाे छ । आलोचकहरू भने शक्ति केन्द्रीकरणको बाटो मान्छन् र प्रधानमन्त्री बालेनकाे शैलीलाई लिएर उनीहरू निरङ्कुशताको जोखिम बढाउने ठान्छन् ।

राजनीतिशास्त्री लाेकराज बराल नेपालमा लोकतान्त्रिक संस्थाहरू अझै बलिया नभएको बताउँछन्। संस्थाहरू कमजोर हुँदा शक्तिशाली कार्यकारी थप शक्तिशाली बन्न सक्ने भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारीप्रति सावधानी अपनाउनुपर्ने बताउँछन्।

उनका अनुसार लोकतन्त्रमा व्यक्तिभन्दा संस्था बलियो हुनुपर्छ। संस्था कमजोर र व्यक्ति बलियो हुँदा लोकतन्त्र कमजोर बन्छ।

प्रत्यक्ष निर्वाचित कार्यकारीले आफूलाई प्रत्यक्ष जनादेशको एकमात्र प्रतिनिधि ठान्‍न सक्ने बरालले बताए । उनकाे विचारमा त्यसपछि संसद्को भूमिका कमजोर हुन सक्छ।

संवैधानिक निकायहरू दबाबमा पर्न सक्छन्। शक्ति सन्तुलन खलबलिन सक्छ। उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को कार्यशैलीलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै भने, ‘संसदलाई छल्ने, संसद हुँदाहुँदै अध्यादेश ल्याएर शासन गर्ने र संसदलाई केही हाेइन भन्‍ने प्रवृत्ति प्रधानमन्त्री बालेनमा जाे देखियाे, प्रत्यक्ष निर्वाचित प्रणालीबारे विचार पुर्‍याउनुपर्छ ।’

प्रधानमन्त्री बालेनमाथि संसद्को भूमिकालाई कम महत्व दिएको आरोप लाग्ने गरेको छ। सार्वजनिक अभिव्यक्तिमा पनि संसद्प्रति उनकाे आलोचनात्मक शैली देखिएको छ।

बरालका अनुसार यस्तै प्रवृत्ति प्रत्यक्ष निर्वाचित कार्यकारीमा अझ बलियो हुन सक्छ। त्यस्तो अवस्थामा कार्यकारीले आफूलाई संसद्भन्दा माथि ठान्न सक्ने जोखिम रहन्छ।

जबकि, संसदीय लोकतन्त्रको मूल आधार नै उत्तरदायित्व हो, जहाँ प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुन्छन्। संसद्ले सरकारलाई प्रश्न गर्न सक्छ। विश्वासको मत माग्न सक्छ। अविश्वासको प्रस्ताव पनि ल्याउन सक्छ।

यही प्रणालीले कार्यकारीमाथि नियन्त्रण कायम गर्छ। तर प्रत्यक्ष निर्वाचित कार्यकारीमा अवस्था फरक हुन सक्छ। कार्यकारी प्रत्यक्ष जनमतबाट निर्वाचित हुन्छ। उसले आफ्नो अधिकार जनताबाट आएको दाबी गर्न सक्छ।

त्यसले संसद्सँग टकराव बढाउन सक्छ। संवैधानिक निकायसँग पनि विवाद बढ्न सक्छ। निर्णय प्रक्रियामा एकल सोच हावी हुन सक्छ। लोकतान्त्रिक संस्थाहरू क्रमशः कमजोर बन्न सक्छन्।

कांग्रेस सांसद अर्जुननरसिंह केसी पनि यही जोखिम औंल्याउँछन्। उनका अनुसार लोकतन्त्रको आधार शक्ति सन्तुलन हो। स्थिर सरकार मात्र पर्याप्त हुँदैन। जवाफदेहिता पनि आवश्यक हुन्छ। संवैधानिक नियन्त्रण पनि उत्तिकै आवश्यक हुन्छ।

यदि नियन्त्रण कमजोर भयो भने लोकतन्त्र संकटमा पर्न सक्ने केसीकाे भनाइ छ । उनले विश्वका धेरै मुलुकमा पनि शक्तिशाली कार्यकारीमाथि बहस हुने गरेको र कतिपय देशमा प्रत्यक्ष निर्वाचित कार्यकारीले संस्थाहरू कमजोर बनाएको आरोप लागेको प्रसङ्‍ग सुनाए ।

नेपालको संविधान निर्माणका बेला पनि यही विषयमा लामो बहस भएको थियो। तत्कालीन नेकपा माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा थियाे । नेपाली कांग्रेस र एमाले संसदीय प्रणालीकाे पक्षमा थिए । अन्ततः संसदीय प्रणाली रोजिएको थियो।

त्यसको मुख्य कारण शक्ति सन्तुलन थियो। संविधान निर्माणकर्ताले कार्यकारीमाथि संसद्को नियन्त्रण आवश्यक ठानेका थिए।अहिले फेरि त्यही बहस फर्किएको छ।

रास्वपाले प्रथम महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव अघि सारेको छ। उसले राजनीतिक स्थिरतालाई मुख्य आधार बनाएको छ। सरकार परिवर्तनको खेल अन्त्य हुने दाबी गरेको छ। अर्थात् राजनीतिक अस्थिरताकाे अन्त्य हुने तर्क गरेकाे छ ।

संविधान संशाेधनका लागि असीम शाह नेतृत्वकाे कार्यदलले बहस पत्र तयार गरिरहँदा रास्वापले शासकीय स्वरुपबारेकाे बहसलाई सतहमा ल्याएकाे हाे ।

पाँचथरमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु, अर्का एक घाइते

काठमाडाैं । पाँचथरको फालेलुङ गाउँपालिका-२ जिमाहामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृतक चालक राजेश मुखिया हुन् ।

२४ वर्षे मुखियाकाे घर फिदिम नगरपालिका-३ काे स्कुलडाँडा हाे । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरीका पाँचथरका सूचना अधिकारी अनिश कायस्थका अनुसार शुक्रबार राति करिब ८ः३० बजे पार्किङ गरी राखिएको मे १ त ३५५६ नम्बरको खाली ट्याक्टर मुखियाले चलाउने क्रममा अनियन्त्रित भई करिब ५०० मिटर तल खसेको थियो।

दुर्घटनामा मुखिया गम्भीर घाइते भएका थिए। उनको शरीरका विभिन्‍न भागमा चोट लागेको थियाे । उनलाई घटनास्थलबाट बोल्न नसक्ने अवस्थामा उद्धार गरी जिल्ला अस्पताल पाँचथर पठाइएकाे र उपचारका क्रममा उनको मृत्यु भएको कायस्थले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका याेगबहादुर जेबगू हुन्  उनी फालेलुङ गाउँपालिका-१ ठाडे लसुनेका हुन् । ४० वर्षीय उनकाे अनुहारमा चोट लागेको छ । दायाँ हात र बाँया खुट्टा तत्काल चल्न नसक्ने अवस्था रहेको पनि प्रहरीले जनाएकाे छ । तर उनी बोल्न सक्ने अवस्थामा छन् ।

घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा दुवै घाइतेको उद्धार गरिएको थियो। अविरल वर्षाका कारण दुर्घटनास्थलमा तत्काल पुग्न उद्धारकर्ताहरुलाई कठिनाइ भएको थियाे ।

बालेन सरकारले भन्याे सफलता, विद्यार्थीले भने अन्याय

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएपछि सरकारले त्यसलाई ठूलो उपलब्धिका रूपमा प्रस्तुत गर्‍यो।

४० दिनमै नतिजा प्रकाशन भएको भन्दै शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डलाई सार्वजनिक रूपमा धन्यवाद दिए। सरकारले यसलाई शिक्षा प्रशासनमा आएको सुधारको उदाहरणका रूपमा व्याख्या गर्‍यो।

तर, यही उपलब्धिको दाबी केही दिनमै विवादमा बदलिएको छ।

नतिजाप्रति असन्तुष्ट विद्यार्थीहरू अहिले सडकमा छन्। सामाजिक सञ्जालमा आलोचना झन् तीव्र छ। धेरै विद्यार्थीले आफूले लेखेको परीक्षाअनुसार नतिजा नआएको दाबी गरेका छन्।

कतिपयले दुई-तीन विषयमै ननग्रेड (एनजी) आएको बताएका छन्। उनीहरूले उत्तरपुस्तिका परीक्षण र डेटा इन्ट्रीमै त्रुटि भएको आशंका गरेका छन्।

बिहीबार असन्तुष्ट विद्यार्थीहरू माइतीघर मण्डलमा भेला भए। उनीहरूले राष्ट्रिय परीक्षा बोर्ड र शिक्षा मन्त्रालयविरुद्ध नाराबाजी गरे। माग एउटै थियो- उत्तरपुस्तिका निःशुल्क पुनः परीक्षण गरियोस्। पुनः परीक्षण शुल्क हटाइयोस्। गल्ती भएको भए त्यसको जिम्मेवारी सरकारले लियोस्।

प्रदर्शनमा सहभागी बानेश्वरकी सीमा चन्द निकै भावुक देखिन्थिन्। विज्ञान सङ्कायकी विद्यार्थी रहेकी उनले एमबीबीएस पढ्ने लक्ष्य बनाएकी थिइन्। त्यसका लागि महिनौँदेखि तयारी गरिरहेकी थिइन्।

तर, नतिजाले उनको योजना नै बदलिदियो।

गणित र भौतिकशास्त्रमा एनजी आएको उनले बताइन्। परीक्षा राम्रो भएको विश्वास थियो। ए प्लस नआए पनि राम्रो ग्रेड आउने अपेक्षा थियो। तर, परिणाम त्यसको ठीक उल्टो आयो।

उनले भनिन्, “मेरो परीक्षा त्यति खराब भएको थिएन। यो नतिजा कसरी आयो भन्ने नै बुझ्न सकेकी छैन।”

सीमाको गुनासो आफ्नो मात्रै होइन। उनीजस्तै धेरै विद्यार्थीको प्रश्न एउटै छ। यदि मूल्याङ्कन प्रक्रिया यति व्यवस्थित थियो भने किन यति धेरै विद्यार्थी असन्तुष्ट भए?

उदयपुरकी एसिका कार्कीको पीडा पनि फरक छैन। होटल म्यानेजमेन्ट अध्ययन गरेकी उनले मेहनतअनुसार नतिजा नआएको बताइन्। पुनः परीक्षण गराउन जाँदा एउटा विषयकै चार हजार पाँच सय रुपैयाँ लाग्ने जानकारी पाएपछि उनी थप निराश भइन्।

उनले भनिन्, “घरमा पनि राम्रो नतिजा आएन भनेर गाली भयो। फेरि रिचेकिङका लागि पैसा माग्दा पनि दिनुभएन।”

यस्ता गुनासा अहिले हजारौँको सङ्ख्यामा सुनिन थालेका छन्।

सामाजिक सञ्जालमा विद्यार्थीहरूले आफ्ना मार्कसिट सार्वजनिक गरिरहेका छन्। अपेक्षा र नतिजाबीच ठूलो अन्तर रहेको दाबी गरिरहेका छन्। कतिपयले शिक्षामन्त्रीको राजीनामासम्म माग गरेका छन्।

विद्यार्थीहरूको मुख्य आरोप सरकारले छिटो नतिजा निकाल्ने लक्ष्यलाई प्राथमिकता दिएको भन्ने छ। उनीहरूका अनुसार गुणस्तरभन्दा गतिलाई महत्त्व दिइयो। त्यसको असर अहिले विद्यार्थीले भोग्नुपरेको छ।

राष्ट्रिय परीक्षा बोर्ड भने आरोप अस्वीकार गर्छ।

कक्षा १२ का परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार नतिजा छिटो निकालिए पनि परीक्षण प्रक्रियामा कुनै सम्झौता गरिएको छैन।

उत्तरकुञ्जिका तयार गरेर शिक्षकलाई तालिम दिइएको थियो। सम्परीक्षणको प्रक्रिया पनि अपनाइएको थियो। नयाँ प्रविधि प्रयोग गरिएको थियो।

उनले केही मानवीय त्रुटि हुनसक्ने स्वीकार गरे। तर, त्यसलाई प्रणालीगत समस्या भन्न नमिल्ने बताए।

बोर्डका अनुसार विद्यार्थीलाई उत्तरपुस्तिका हेर्ने, पुनर्योग गर्ने र पुनः परीक्षण गराउने कानुनी व्यवस्था छ। विगतका वर्षमा पुनर्योगपछि दुई प्रतिशतभन्दा कम नतिजा परिवर्तन भएको तथ्यांक पनि बोर्डले प्रस्तुत गरेको छ।

तर, यसपटक विवादको आकार फरक देखिएको छ।

बोर्डकै तथ्यांकअनुसार यस वर्ष एक लाख ४७१ विद्यार्थी ननग्रेड भएका छन्। यो सङ्ख्याले नै धेरै प्रश्न जन्माएको छ। सबै विद्यार्थीको उत्तरपुस्तिका गलत परीक्षण भयो भन्ने निष्कर्ष निकाल्न मिल्दैन। तर, ठूलो सङ्ख्यामा असन्तुष्टि देखिनु पनि सामान्य विषय होइन।

विवाद बढेपछि शिक्षामन्त्री पोखरेलले सफाइ दिएका छन्।

उनले नतिजा सार्वजनिक गर्न कुनै हतारो नगरिएको दाबी गरेका छन्। आवश्यक जनशक्ति थपिएको र अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याइएकाले मात्रै नतिजा समयमै आएको उनको भनाइ छ।

उनले मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरू सम्मिलित छानबिन समिति पनि गठन गरेका छन्। समितिले उत्तरपुस्तिकाको नमुना परीक्षण गर्नेछ। डेटा इन्ट्री र परीक्षाङ्क प्रमाणीकरणको पनि अध्ययन गर्नेछ।

तर, आन्दोलनरत विद्यार्थीका लागि यो पर्याप्त देखिएको छैन।

उनीहरूलाई समिति गठनभन्दा परिणाम चाहिएको छ। यदि त्रुटि भएको छ भने त्यसको तत्काल सुधार होस् भन्ने उनीहरूको माग छ। पुनः परीक्षण शुल्क हटाउनुपर्ने उनीहरूको अर्को माग छ।

शिक्षा क्षेत्रका जानकारहरूका अनुसार परीक्षा प्रणालीमा विश्वास सबैभन्दा ठूलो कुरा हो। विद्यार्थीले आफ्नो मेहनतको निष्पक्ष मूल्याङ्कन भएको अनुभूति गर्न सकेन भने सम्पूर्ण प्रणालीमाथि प्रश्न उठ्छ। त्यसको असर आगामी वर्षका परीक्षामा पनि पर्न सक्छ।

सरकारले छिटो नतिजा निकाल्नु सकारात्मक विषय हो। विद्यार्थी पनि लामो समय नतिजा कुरेर बस्न चाहँदैनन्। तर, गति र विश्वसनीयताबीच सन्तुलन कायम गर्न नसकिए उपलब्धि नै विवादको कारण बन्न सक्छ।

अहिले ठीक त्यही अवस्था देखिएको छ।

शिक्षामन्त्रीले ४० दिनमै नतिजा प्रकाशनलाई सफलताको रूपमा प्रस्तुत गरे। तर, त्यसपछि सुरु भएको विवादले त्यो सफलतामाथि प्रश्नचिन्ह खडा गरेको छ।

अब छानबिन समितिको प्रतिवेदनले धेरै प्रश्नको उत्तर दिनुपर्नेछ। वास्तवमै परीक्षण प्रक्रियामा कमजोरी थियो वा थिएन भन्ने स्पष्ट हुनुपर्नेछ। यदि त्रुटि भेटियो भने त्यसको जिम्मेवारी पनि सम्बन्धित निकायले लिनुपर्नेछ।

सरकारका लागि छिटो नतिजा उपलब्धि हुन सक्छ। तर, विद्यार्थीका लागि सही नतिजा नै सबैभन्दा ठूलो उपलब्धि हो।

यदि छिटोपनको मूल्य विद्यार्थीको भविष्यले तिर्नुपर्‍यो भने त्यो उपलब्धि होइन, गम्भीर प्रश्नको विषय बन्न सक्छ।

भिडियो:

बालेनले भुले आफ्नै बाचा [भिडियो]

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले भुले आफ्नै बाचा भुलेका छन् र उनी र उनकाे दल रास्वपा संघीयता मास्नेतिर लागेका छन् ।

अर्थमन्त्रीसमेत रहेका नेता स्वर्णिम वाग्लेले प्रष्ट रुपमा भनेका छन् प्रदेशसभा खारेज गर्छाैँ । संघीयताकाे मूल धराेहर नै प्रदेश हाे ।

तर, संविधानअनुसार प्रदेशलाई अधिकार नदिइकन पेण्डुलम बनाएकाे अवस्थामा प्रदेश खारेजीकाे एजेण्डा वाग्लेले अघि सारेका हुन् । जुन एजेण्डासहितकाे अर्थ राजनीतिक प्रस्तावना नामकाे दस्ताबेज पारित भएकाे छ ।

जबिक गत फागुनको आमनिर्वाचनअघि ५ माघ २०८२ मा जनकपुरमा आयोजित चुनावी सभामा बालेनले प्रदेशलाई अझ बलियो बनाउनुपर्ने धारणा सार्वजनिक गरेका थिए। मधेशी पहिरनमा प्रस्तुत भएका उनले स्थानीय सरकार र प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने भन्दै काठमाडौं केन्द्रित शासन व्यवस्थाको आलोचना गरेका थिए।

उनले जनकपुरका जनतालाई सम्बोधन गर्दै प्रदेश राजधानीले आफ्नै अधिकार प्रयोग गर्न सक्नुपर्ने र सामान्य प्रशासनिक निर्णयका लागि समेत काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य गरिने बताएका थिए।

तर प्रधानमन्त्री बनेको तीन महिनामै रास्वपाको पहिलो महाधिवेशनबाट पारित दस्तावेजमा प्रदेशसभा खारेजीसहित संघीयताको पुनर्संरचना गर्ने प्रस्ताव अघि सारिएको छ। सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनले पनि प्रदेश सरकार र प्रदेशसभाको पुनर्संरचनाको पक्ष लिएको छ।

यसले चुनावका बेला ‘बलियो प्रदेश’को वाचा गरेको दल अहिले संघीय संरचनाकै औचित्यमाथि प्रश्न उठाउने दिशामा गएको टिप्पणी हुन थालेको छ। विशेषगरी संघीयताको पक्षमा लामो संघर्ष गरेको मधेशमा रास्वपाको निर्णयप्रति तीव्र असन्तुष्टि देखिएको छ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले समेत चुनावका बेला प्रदेश बलियो बनाउने वाचा गरेर मत माग्ने र चुनावपछि प्रदेशसभा खारेजको एजेन्डा ल्याउनु राजनीतिक बेइमानी भएको टिप्पणी गरेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार संघीयता कार्यान्वयनमा कमजोरी र समस्या भए पनि त्यसको समाधान सुधारमार्फत खोजिनुपर्छ। उनीहरूको तर्क छ, दशकौंको संघर्ष, बलिदान र राजनीतिक सहमतिबाट स्थापित संघीय संरचनामाथि नै प्रहार गर्ने प्रयासले मुलुकलाई नयाँ राजनीतिक विवाद र ध्रुवीकरणतर्फ धकेल्न सक्छ।

रास्वपाको पछिल्लो निर्णयले अब बालेन शाहले चुनावी मञ्चबाट गरेका प्रतिबद्धता र वर्तमान राजनीतिक अभ्यासबीचको दूरीलाई थप उजागर गरेको छ।

‘जान्नेलाई छान्ने’ रास्वपाको महाधिवेशन विवाद : भोटिङ मेसिनमै छेडछाड

काठमाडौं। जान्नेलाई छान्ने नारामा नारिएर सत्तामा पुगेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ।

यो सँगै महाधिवेशनले नयाँ नेतृत्व चयनको प्रक्रियामा प्रवेश गरेसँगै पार्टीभित्र व्यवस्थापन, पारदर्शिता र निर्वाचन प्रक्रियामाथि प्रश्न उठ्न थालेका छन्।

पाँच दिनदेखि चलिरहेको महाधिवेशनमा मतदान सम्पन्न भए पनि परिणाम आउनुअघि नै विभिन्न विवाद सार्वजनिक भएका हुन्।

रास्वपाले आफूलाई प्रविधिमैत्री, युवा केन्द्रित र नयाँ राजनीतिक संस्कृतिको वाहक दलका रूपमा प्रस्तुत गर्दै आएको छ। तर महाधिवेशन सञ्चालनको शैली र निर्वाचन प्रक्रियामा देखिएका कमजोरीले पार्टीको संगठनात्मक क्षमता र आन्तरिक लोकतन्त्रमाथि प्रश्न खडा गरेको छ।

महाधिवेशनका लागि ४ हजार ३११ प्रतिनिधि रहेको बताइए पनि केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा २ हजार ९५९ मत मात्रै खसेको छ। अर्थात् करिब एक हजार ३५२ प्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएनन्। मतदान नसकिँदै प्रतिनिधिहरू घर फर्किन थालेको विषयले पनि महाधिवेशनको व्यवस्थापनबारे प्रश्न उठाएको छ।

निर्वाचन प्रक्रियामा सबैभन्दा बढी विवाद उम्मेदवारहरूको नामावली र विद्युतीय मतदान प्रणालीलाई लिएर देखिएको छ। ९९ केन्द्रीय सदस्यका लागि ३८४ उम्मेदवार मैदानमा रहे पनि भोटिङ मेसिनमा उम्मेदवारको नाम क्लस्टर, वर्णानुक्रम वा स्पष्ट वरीयताका आधारमा नराखिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ।

कतिपय उम्मेदवारहरूले प्रारम्भिक क्रमसंख्यामा रहेका उम्मेदवारलाई मनोवैज्ञानिक लाभ पुग्ने र पछिल्ला क्रममा राखिएका उम्मेदवारहरूलाई प्रत्यक्ष असर पर्ने तर्क गरेका छन्। मतदानका क्रममा प्रतिनिधिले कोटा पूरा गरिसकेपछि अन्तिमतिरका उम्मेदवार छुट्ने सम्भावना रहने भन्दै निर्वाचन प्रणालीको निष्पक्षतामाथि प्रश्न उठाइएको छ।

उम्मेदवार आशिका तामाङ, ज्वाला संग्रौला, यज्ञमणि न्यौपाने लगायतले सार्वजनिक रूपमा नामावली व्यवस्थापनमा त्रुटि भएको गुनासो गरेका छन्। कतिपयले आफूले मनोनयन दर्ता गराएको क्रम र भोटिङ मेसिनमा देखाइएको क्रमबीच ठूलो अन्तर रहेको दाबी गरेका छन्।

महाधिवेशनमा गुटबन्दी नहुने र प्यानल संस्कृतिको अन्त्य गर्ने नेतृत्वको दाबी पनि व्यवहारमा चुनौतीपूर्ण देखिएको छ। विभिन्न समूहबाट उम्मेदवारको पक्षमा मत माग्ने सूची तथा ‘चिट’ वितरण भएको आरोप लागेको छ। यसले पार्टीले सार्वजनिक रूपमा उठाएको राजनीतिक संस्कृतिको प्रश्नलाई पुनः चर्चामा ल्याएको छ।

महाधिवेशन तीन दिनभित्र सम्पन्न गर्ने प्रारम्भिक योजना भए पनि प्रक्रिया लम्बिँदै पाँचौं दिनसम्म पुगेको छ। प्रतिनिधि छनोटदेखि उम्मेदवार सूची प्रकाशन, मतदान तालिका र व्यवस्थापनसम्म विभिन्न विषयमा अन्योल देखिएको भन्दै कार्यकर्ताहरूले असन्तुष्टि जनाएका छन्।

विशेषगरी ग्रामीण क्षेत्रबाट समय र श्रम खर्च गरेर महाधिवेशनमा सहभागी भएका प्रतिनिधिहरूले निर्णय प्रक्रियामा स्पष्टता र व्यवस्थापनमा सुधार आवश्यक रहेको बताएका छन्। सर्वसम्मतिका नाममा नेतृत्वको निर्णय लाद्ने प्रयास भएको आरोपसमेत केही प्रतिनिधिले लगाएका छन्।

रास्वपाको यो महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीले दाबी गर्दै आएको वैकल्पिक राजनीतिक अभ्यासको परीक्षणका रूपमा पनि हेरिएको छ। त्यसैले महाधिवेशनमा देखिएका विवाद, असन्तुष्टि र व्यवस्थापकीय कमजोरीले पार्टीभित्र आत्मसमीक्षा आवश्यक रहेको संकेत गरेको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ।

यद्यपि नेतृत्व पक्षले महाधिवेशन लोकतान्त्रिक अभ्यासको स्वाभाविक प्रक्रिया भएको र उठेका गुनासा तथा विवादहरूलाई संस्थागत ढंगले सम्बोधन गरिने बताएको छ।

अब निर्वाचन परिणाम र त्यसपछि बन्ने नेतृत्वले पार्टीभित्र देखिएका असन्तुष्टिलाई कसरी व्यवस्थापन गर्छ भन्ने विषयले विशेष महत्व राख्ने देखिन्छ।

लफडै-लफडाबीच महाधिवेशन : ‘नो भोट’को एजेन्डामै चुक्यो रास्वपा

काठमाडौं । संविधानमै ‘नो भोट’ अर्थात् ‘राइट टु रिजेक्ट’को व्यवस्था हुनुपर्ने माग गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नै महाधिवेशनमा भने त्यही एजेन्डा कार्यान्वयन गर्न असफल भएको छ।

पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत ९९ जना केन्द्रीय सदस्य चयनका लागि गरिएको मतदानमा ‘नो भोट’को विकल्प नराखिएपछि पार्टीभित्रै असन्तुष्टि देखिएको छ।

बुधबार रातिदेखि सुरु भएको विद्युतीय मतदानमा प्रतिनिधिहरूले उम्मेदवार छनोट गर्न पाए पनि कुनै उम्मेदवारलाई स्वीकार नगर्ने विकल्प भने उपलब्ध गराइएन। यसले रास्वपाले सार्वजनिक रूपमा उठाउँदै आएको प्रमुख राजनीतिक एजेन्डा व्यवहारमा लागू नगरेको आरोप लागेको छ।

महाधिवेशनस्थलमा केही प्रतिनिधिले ‘नो भोट’को व्यवस्था हुनुपर्ने माग गर्दै नाराबाजीसमेत गरेका थिए। नेतृत्वले आफूहरूले लामो समयदेखि उठाउँदै आएको मुद्दालाई आफ्नै आन्तरिक निर्वाचनमा बेवास्ता गरेको भन्दै प्रतिनिधिहरूले असन्तुष्टि जनाएका हुन्।

रास्वपाका नेता तथा सांसद सागर ढकालले पनि केन्द्रीय सदस्यको निर्वाचनमा ‘नो भोट’को विकल्प नराखिएकोमा असन्तोष व्यक्त गरेका छन्। भरतपुरस्थित महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कम्तीमा पदाधिकारी चयनको निर्वाचनमा भए पनि उक्त व्यवस्था लागू गर्नुपर्ने धारणा राखे।

उनले भने, ‘९९ जना केन्द्रीय सदस्यको निर्वाचनमै ‘नो भोट’को व्यवस्था हुनुपर्ने थियो। यदि यहाँ सम्भव भएन भने पदाधिकारीको निर्वाचनमा यसलाई लागू गर्न नेतृत्वसँग कुरा राख्नेछौँ।’

ढकालले आफू निर्णायक भूमिकामा नरहेकाले माग कार्यान्वयन हुनेमा निश्चित हुन नसक्ने बताए। उनले पार्टीले आफ्नो मूल एजेन्डाबाट विचलित हुन थालेको संकेत देखिएको टिप्पणी गर्दै आवश्यक परे हस्तक्षेप गरेर भए पनि सही दिशामा लैजानुपर्ने बताए।

अर्का नेता तथा सांसद राजीव खत्रीले पनि ‘नो भोट’को व्यवस्था नहुनुलाई लिएर कटाक्ष गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै आफ्नै प्रतिस्पर्धी उम्मेदवारलाई समेत अनिवार्य रूपमा मत दिनुपर्ने अवस्थालाई अस्वाभाविक भन्दै आलोचना गरेका हुन्।

‘संसारमा सायद यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिस्पर्धीलाई अनिवार्य मत दिनुपर्छ,’ उनले टिप्पणी गर्दै ‘नो भोट’को अवधारणामाथि भएको व्यवहारिक उपेक्षाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

रास्वपाले स्थापना कालदेखि नै मतदातालाई सबै उम्मेदवार अस्वीकार गर्ने अधिकार दिनुपर्ने पक्षमा आवाज उठाउँदै आएको छ। तर आफ्नै महाधिवेशनको निर्वाचनमा त्यस्तो विकल्प समावेश नगरेपछि पार्टीले ‘राइट टु रिजेक्ट’को एजेन्डाप्रति कति प्रतिबद्ध छ भन्ने प्रश्न उठ्न थालेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार सार्वजनिक रूपमा उठाइने एजेन्डा र व्यवहारबीचको अन्तरले पार्टीको विश्वसनीयतामाथि प्रश्न खडा गर्न सक्छ।

महाधिवेशनको चुनावी प्रक्रियामा ‘नो भोट’ अनुपस्थित रहनुलाई कतिपयले व्यवस्थापकीय कमजोरीका रूपमा हेरेका छन् भने कतिपयले यसलाई पार्टीको घोषित सिद्धान्त र व्यवहारबीचको विरोधाभासका रूपमा व्याख्या गरेका छन्।