`

अख्तियारको राडरमा को-को ?

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिव तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाका पूर्वसहयोगीमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।

अख्तियारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका लामो समय स्वकीय सचिव रहेका भानु देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी एवं पूर्वस्वकीय सचिव गंगा दाहाल र सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री प्रकाशबहादुर देउवामाथि अनुसन्धान थालेको हो।

अख्तियारका अनुसार तीनै जनाको सम्पत्ति र आर्थिक कारोबारसँग सम्बन्धित विवरण संकलन भइरहेको छ। प्रकाशबहादुर देउवा सार्वजनिक पद धारण गरेका व्यक्ति भएकाले उनीमाथि भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा प्रत्यक्ष अनुसन्धान अघि बढाइएको हो।

प्रकाश २०७९ को प्रदेशसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित भएका थिए। त्यसपछि उनी २०७९ माघमा सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए। उनी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा हुन्।

अख्तियारका एक उच्च अधिकारीका अनुसार प्रकाश हाल अमेरिकामा रहेको जानकारी आयोगले पाएको छ। उनको सम्पत्ति विवरण संकलन तथा बयानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।

भानु देउवा र गंगा दाहालमाथिको अनुसन्धान भने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि अघि बढाइएको अख्तियारले जनाएको छ।

करिब एक साताअघि विभागबाट पत्र प्राप्त भएपछि अख्तियारले दुवैको सम्पत्ति विवरण माग गर्दै सम्बन्धित विभिन्न निकायमा पत्राचार गरेको छ।

अनुसन्धानका क्रममा उनीहरूको बैंक खाता, शेयर लगत तथा अन्य आर्थिक कारोबारसम्बन्धी विवरण संकलन भइरहेको छ। विवरण संकलनपछि सम्पत्तिसम्बन्धी फारम भराउने र आवश्यक परे बयान लिने प्रक्रिया अघि बढाइनेछ।

यससँगै उनीहरूले आर्जन गरेको सम्पत्तिको स्रोत, बैंकिङ कारोबार तथा लगानीको प्रकृतिबारे आयोगले अध्ययन गर्नेछ।

पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा परराष्ट्रमन्त्री हुँदा विद्युतीय राहदानी छपाइको ठेक्कामा अनियमितता भएको आरोपमा अख्तियारले यसअघि अनुसन्धान गरेको थियो।

असार ८ गते विशेष अदालतमा मुद्दा दायर गर्दा आरजुलाई प्रतिवादी बनाइएको थिएन। उनी हाल विदेशमा रहेकाले बयान हुन नसकेको र आयोगले उनीसम्बन्धी अनुसन्धानलाई थप अघि बढाउने निर्णय गरेको बताइएको छ।

अख्तियारको अनुसन्धानअनुसार आरजु परराष्ट्रमन्त्री हुँदा विद्युतीय राहदानी छपाइको ठेक्का स्वीकृत भएको थियो। जर्मन कम्पनी भेरिडोस र मुल्हबाउरले मिलेमतोमा दुईवटा प्याकेजको ठेक्का लिएको अनुसन्धान निष्कर्षमा उल्लेख छ।

प्रकाशबहादुर देउवा भने आरजु मन्त्री हुँदा उनको सचिवालयमा थिएनन्। यद्यपि, उनी आरजु र शेरबहादुर देउवासँग निकट रहेको र त्यही सम्बन्धका कारण कैलालीबाट राजनीतिक अवसर पाएको कांग्रेसका स्थानीय नेताहरूको दाबी रहेको छ।

अत्तर लगाउँदैमा स्तन क्यान्सर ?

काठमाडौं। स्तन क्यान्सर महिलामा बढी देखिने भए पनि पुरुषमा समेत हुन सक्छ। तर, स्तन क्यान्सरबारे समाजमा अझै विभिन्न भ्रम र मिथकहरू छन्। अत्तर वा डिओडोरेन्ट प्रयोग गर्दा स्तन क्यान्सर हुन्छ भन्ने धारणा पनि त्यस्तै एउटा भ्रम हो।

विज्ञहरूका अनुसार अत्तर वा डिओडोरेन्ट प्रयोग गरेकै कारण स्तन क्यान्सर हुने वा यसको जोखिम बढ्ने वैज्ञानिक प्रमाण अहिलेसम्म भेटिएको छैन। त्यसैले यस्ता सामग्री प्रयोग गरेकै कारण स्तन क्यान्सर हुन्छ भनेर डराउनुपर्ने अवस्था नरहेको उनीहरूको भनाइ छ।

स्तनमा दुखाइ हुनु मात्रै स्तन क्यान्सरको संकेत होइन। महिनावारीका क्रममा हुने हर्मोनल परिवर्तन, सिस्टलगायत विभिन्न कारणले पनि स्तन दुख्न सक्छ।

स्तन क्यान्सरको प्रारम्भिक अवस्थामा धेरैजसो दुखाइ नहुन पनि सक्छ। तर, स्तनमा नयाँ गाँठो देखिनु, आकार वा स्वरूपमा परिवर्तन आउनु, छालामा असामान्य परिवर्तन देखिनु वा निप्पलबाट असामान्य तरल पदार्थ निस्कनुजस्ता लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिनु आवश्यक हुन्छ।

परिवारमा कसैलाई स्तन क्यान्सर नभएको अवस्थामा पनि व्यक्तिमा स्तन क्यान्सर हुन सक्छ। पारिवारिक इतिहासले जोखिम बढाउन सक्ने भए पनि स्तन क्यान्सरको जोखिम त्यसमा मात्रै निर्भर हुँदैन।

त्यसैले परिवारमा क्यान्सरको इतिहास छैन भन्दैमा स्तनमा देखिएका असामान्य परिवर्तनलाई बेवास्ता गर्नु उचित हुँदैन।

स्तनमा देखिने सबै गाँठा क्यान्सरजन्य हुँदैनन्। धेरैजसो गाँठा क्यान्सररहित अर्थात् बेनाइन हुन सक्छन्। सिस्ट र फाइब्रोएडेनोमा यसका सामान्य उदाहरण हुन्।

तर, स्तनमा नयाँ गाँठो भेटिएमा त्यसलाई सामान्य ठानेर बेवास्ता गर्नु हुँदैन। गाँठो लगातार रहिरहेमा वा त्यससँगै स्तनको आकार, छाला वा निप्पलमा परिवर्तन देखिएमा चिकित्सकीय जाँच गराउनु आवश्यक हुन्छ।

 

पुरुषलाई पनि हुन्छ स्तन क्यान्सर

स्तन क्यान्सर महिलामा बढी देखिए पनि पुरुषमा समेत हुन सक्छ। पुरुषमा यसको जोखिम महिलाको तुलनामा निकै कम हुन्छ। तर, छाती वा स्तनको भागमा असामान्य गाँठो, सुन्निने वा अन्य परिवर्तन देखिएमा त्यसलाई सामान्य ठान्नु हुँदैन।

समयमै चिकित्सकीय जाँच गराउँदा असामान्य परिवर्तनको कारण पहिचान गर्न सकिन्छ। त्यसैले स्तन क्यान्सरसम्बन्धी भ्रममा पर्नुभन्दा शरीरमा देखिने असामान्य परिवर्तनप्रति सचेत हुनु आवश्यक छ।

स्तन क्यान्सरबारे सही जानकारी र समयमै स्वास्थ्य परीक्षणले अनावश्यक डर हटाउनुका साथै आवश्यक परेमा रोगको पहिचान र उपचारमा समेत सहयोग पुर्‍याउँछ।

‘बेथिति रोक्न अपराधीलाई ‘कोर्रा हान्ने’ कानुन बनाऔँ’

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशमा बढ्दो बेथिति, भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्न कडा कानुनी व्यवस्था आवश्यक रहेको भन्दै अपराधमा संलग्न व्यक्तिलाई सार्वजनिक रूपमा कोर्रा हान्नेसम्मको सजाय हुने कानुन बनाउन प्रस्ताव गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद राईले विद्यमान कानुनी प्रक्रिया लामो र झन्झटिलो रहेको तथा कतिपय अवस्थामा प्रभाव र सेटिङका कारण अपराधमा संलग्न व्यक्ति कारबाहीबाट उम्किने गरेको आरोप लगाए।

उनले अपराधीलाई पक्राउ गर्ने, अनुसन्धान गर्ने र अन्ततः प्रभाव तथा सेटिङका आधारमा छाड्ने प्रवृत्तिले मुलुकमा दण्डहीनता बढाएको बताए।

‘मेरो–तेरो नभनीकन फटाहालाई कर्‍यापझ्याप पारेर हानौँ न कोर्राले । त्यस्तो कानुन बनाऔँ, यही हो कानुन बनाउने ठाउँ,’ राईले संसद्मा भने।

राईले सामान्य सोधपुछ वा लामो कानुनी प्रक्रियाले मात्रै अपराध नियन्त्रण हुन नसक्ने दाबी गरे। अपराधमा संलग्न व्यक्तिलाई कडा सजाय हुने व्यवस्था नगरेसम्म समाजमा बेथिति र अराजकता अन्त्य गर्न कठिन हुने उनको भनाइ थियो।

सांसद राईले देशको सुरक्षा अवस्था र प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति समेत प्रश्न उठाए।

छिमेकी मुलुकसँगको सीमा विवादका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रहितअनुकूल नभएको उनको आरोप थियो। प्रधानमन्त्रीबाटै नेपालले छिमेकीको सीमा मिचेको भन्ने आशयको अभिव्यक्ति आउनु गम्भीर विषय भएको उनले बताए।

‘हामी कस्तो देशमा छौँ जहाँ प्रधानमन्त्री नै भन्छन् हामीले छिमेकीको सीमा मिचेका छौँ। यहाँ न सुरक्षा छ, न न्याय, न सेवा सुविधा,’ राईले भने।

उनले देशमा नागरिकदेखि जनप्रतिनिधिसम्मले असुरक्षित महसुस गर्नुपर्ने अवस्था सिर्जना भएको दाबी गरे। राज्यले नागरिकको सुरक्षा, न्याय र आधारभूत सेवा सुनिश्चित गर्न नसके शासन प्रणालीप्रतिको विश्वास कमजोर हुने उनको भनाइ थियो।

राईले भ्रष्टाचार, अपराध र बेथितिमा संलग्न व्यक्तिमाथि कारबाही गर्दा राजनीतिक आस्था, पहुँच वा सम्बन्धका आधारमा विभेद गर्न नहुनेमा जोड दिए।

उनको भनाइमा कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्छ र अपराधीलाई कुनै पनि प्रकारको राजनीतिक संरक्षण वा प्रभावका आधारमा उन्मुक्ति दिनु हुँदैन।

उनले संसद् नै कानुन निर्माण गर्ने सर्वोच्च थलो भएकाले अपराध नियन्त्रण र दण्डहीनता अन्त्यका लागि आवश्यक कडा कानुनी व्यवस्था यहीँबाट गर्नुपर्ने बताए।

इरानको धम्कीपछि ट्रम्पको गोप्य उडान

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टर्कीबाट बेलायत फर्किने यात्रामा असामान्य सुरक्षा रणनीति अपनाइएको खुलासा भएको छ।

इरानबाट ट्रम्पको हत्या गर्ने सम्भावित धम्की आएपछि उनको वास्तविक यात्रा लुकाउन एयर फोर्स वनलाई नै ‘डिक्वाय’ अर्थात् भ्रम सिर्जना गर्ने विमानका रूपमा प्रयोग गरिएको रिपोर्ट सार्वजनिक भएको हो।

वासिङ्टन पोस्टले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सार्वजनिक गरेको विवरणअनुसार गत जुलाईमा टर्कीको अंकारामा भएको नाटो शिखर सम्मेलनपछि ट्रम्पलाई बेलायत फर्काउने क्रममा अन्तिम समयमा यात्रा योजना परिवर्तन गरिएको थियो। सार्वजनिक रूपमा भने ट्रम्प पुरानो मोडलको एयर फोर्स वनबाटै बेलायत फर्किएको देखाइएको थियो। तर वास्तविकता फरक थियो।

रिपोर्टअनुसार ट्रम्प सुरुमा सञ्चारमाध्यमका क्यामेरासामु पुरानो एयर फोर्स वनमा चढेका थिए। त्यसपछि उनलाई विमानबाट गोप्य रूपमा निकालेर विमानस्थलको क्याटरिङ ट्रकमार्फत अर्को स्थानमा लगिएको थियो। त्यहाँबाट उनी अमेरिकी वायुसेनाको सानो सी–३२ए विमानमा चढेर बेलायततर्फ उडेका थिए।

यो सम्पूर्ण योजनाको उद्देश्य ट्रम्प वास्तवमा कुन विमानमा र कहाँ छन् भन्ने सूचना बाहिर जान नदिनु थियो। रिपोर्टअनुसार पत्रकार मात्र होइन, ह्वाइट हाउसका केही कर्मचारीसमेत वास्तविक योजनाबारे पूर्ण रूपमा जानकार थिएनन्।

ट्रम्पलाई पुरानो एयर फोर्स वनमा चढेको देखिएपछि सञ्चारमाध्यमका प्रतिनिधिहरूले पनि त्यही विमानमा राष्ट्रपति बेलायत जाने अपेक्षा गरेका थिए। तर, वास्तविक राष्ट्रपति भने अर्कै विमानमा सरिसकेका थिए।

ट्रम्प सवार सी–३२ए विमान बेलायतको आरएएफ मिल्डेनहलमा पहिले पुगेको थियो। त्यसपछि मात्रै पत्रकार तथा ह्वाइट हाउसका केही कर्मचारी सवार पुरानो एयर फोर्स वन त्यहाँ पुगेको बताइएको छ। यसरी राष्ट्रपतिको वास्तविक स्थान केही समयसम्म लुकाउन सफल भएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

उडानका क्रममा पत्रकारहरूलाई विमानका झ्यालका पर्दा बन्द राख्नसमेत भनिएको थियो। त्यसले यात्राको वास्तविक अवस्थाबारे उनीहरूलाई तत्काल जानकारी पाउनबाट रोक्यो।

राष्ट्रपतिको यात्रा लुकाउन यस्तो रणनीति अमेरिकी राष्ट्रपतिको सुरक्षा संयन्त्रका लागि नयाँ भने होइन। यसअघि सन् २००० मा तत्कालीन राष्ट्रपति बिल क्लिन्टनको पाकिस्तान भ्रमणका क्रममा पनि वास्तविक विमान र यात्राबारे भ्रम सिर्जना गर्ने रणनीति अपनाइएको थियो।

ट्रम्पको विमान परिवर्तनको मुख्य कारण इरानबाट आएको भनिएको हत्या धम्की रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। पछिल्लो समय अमेरिका र इरानबीच सैन्य तथा राजनीतिक तनाव चर्किएका बेला अमेरिकी राष्ट्रपतिमाथि सम्भावित आक्रमणको जोखिमलाई सुरक्षा निकायले गम्भीर रूपमा लिएको देखिन्छ।

रिपोर्टहरूअनुसार ट्रम्पलाई इरानबाट निरन्तर सुरक्षा खतरा रहेको जानकारी दिइएको थियो। स्वयं ट्रम्पले पनि यसअघि आफू इरानको ‘नम्बर एक लक्ष्य’ रहेको दाबी गरेका थिए।

यस घटनामा विमान परिवर्तन गर्नु केवल नियमित सुरक्षा अभ्यास नभई राष्ट्रपतिको वास्तविक अवस्थिति नै लुकाउने योजनासँग जोडिएको थियो। अमेरिकी अधिकारीहरूले ट्रम्पको सुरक्षा सुनिश्चित गर्न उपलब्ध सबै उपाय प्रयोग गरिएको बताएका छन्।

ट्रम्प टर्की पुगेका बेला नयाँ विमान प्रयोग गरिएको थियो। कतारले अमेरिकालाई उपलब्ध गराएको नयाँ बोइङ ७४७–८ विमानबाट उनी टर्की पुगेका थिए। तर उक्त विमानको सुरक्षा क्षमता र विशेषगरी आवश्यक प्रतिरक्षा प्रणालीबारे प्रश्न उठेपछि ट्रम्पलाई त्यसैबाट बेलायत फर्काउन जोखिम मानिएको रिपोर्टमा उल्लेख छ।

यसअघि सार्वजनिक विवरणअनुसार अमेरिकी अधिकारीहरूले नयाँ विमानमा पूर्ण सुरक्षा प्रणाली जडान नभइसकेको विषयमा चिन्ता व्यक्त गरेका थिए। यही कारण पुरानो एयर फोर्स वन प्रयोग गरिएको देखाइएको थियो। तर पछिल्लो खुलासाले पुरानो विमान पनि वास्तविक राष्ट्रपतिको विमान नभएको देखाएको छ।

अर्थात्, सुरक्षाको दृष्टिले एउटा विमानलाई वास्तविक यात्रा जस्तो देखाएर अर्को विमानमार्फत राष्ट्रपतिलाई गोप्य रूपमा सारिएको थियो।

ट्रम्पको गोप्य विमान यात्राको घटना अमेरिका र इरानबीचको बढ्दो तनावको व्यक्तिगत सुरक्षा तहसम्म परेको प्रभावका रूपमा हेरिएको छ।

अमेरिका र इरानबीचको विवाद पछिल्लो समय सैन्य टकरावसम्म पुगेको छ। अमेरिकी तथा इजरायली कारबाही र त्यसपछि इरानबाट हुन सक्ने प्रतिकारका कारण अमेरिकी अधिकारीहरू उच्च सतर्कतामा छन्।

यस्तो अवस्थामा अमेरिकी राष्ट्रपतिको विदेश भ्रमणमा समेत यात्रा विवरण लुकाउने, विमान परिवर्तन गर्ने र सञ्चारमाध्यमलाई समेत सीमित सूचना दिने अवस्था आउनुले सुरक्षा चुनौतीको गम्भीरता देखाउँछ।

तर यस घटनालाई ‘ट्रम्प चीन र रूसभन्दा इरानसँग डराए’ भन्ने सरल निष्कर्षमा मात्र सीमित गर्नु उपयुक्त हुँदैन। यो मुख्यतः राष्ट्रपतिको सुरक्षा व्यवस्थापन र सम्भावित लक्षित आक्रमणबाट जोगाउने सुरक्षा रणनीतिसँग सम्बन्धित घटना हो।

ट्रम्पको यात्रा लुकाउने योजनाले अमेरिकी राष्ट्रपतिको सुरक्षा संयन्त्रको कार्यशैलीबारे पनि प्रश्न उठाएको छ। राष्ट्रपतिको वास्तविक अवस्थिति पत्रकार र केही ह्वाइट हाउस कर्मचारीबाट समेत लुकाइएको घटनाले सुरक्षा व्यवस्थापन कति गोप्य तहमा सञ्चालन गरिएको थियो भन्ने देखाउँछ।

अमेरिकी अधिकारीहरूले भने यस्तो कदम राष्ट्रपतिको सुरक्षाका लागि आवश्यक भएको संकेत गरेका छन्। तर केही अमेरिकी सांसदले घटनाको असामान्य प्रकृतिमाथि प्रश्न उठाउँदै सुरक्षा व्यवस्थाबारे थप छानबिन आवश्यक हुन सक्ने बताएका छन्।

फर्केर हेर्दा रोहितको कप्तानी

काठमाडाैं। नेपाली क्रिकेटमा रोहितकुमार पौडेलको कप्तानीको अध्याय टुंगिएको छ। सन् २०२२ मा सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लागेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व सम्हाल्ने जिम्मेवारी रोहितको काँधमा आएको थियो। त्यतिबेला नेपाली क्रिकेट टोली आफैं कठिन संक्रमणबाट गुज्रिरहेको थियो। नेतृत्व परिवर्तन, मैदानमा अस्थिर प्रदर्शन र महत्वपूर्ण प्रतियोगितामा अपेक्षित नतिजा निकाल्नुपर्ने दबाबबीच रोहितले कप्तानी सम्हाले।

कम उमेरमै राष्ट्रिय टोलीको नेतृत्व गर्ने जिम्मेवारी पाएका रोहितले विस्तारै आफूलाई कप्तानका रूपमा स्थापित गरे। सुरुवाती चुनौती पार गर्दै उनले नेपाली क्रिकेटलाई एकदिवसीय र टी-२० दुवै ढाँचामा नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरे। उनको नेतृत्वमा नेपालले थुप्रै ऐतिहासिक उपलब्धि हासिल गर्‍यो, जसका कारण नेपाली क्रिकेटको पछिल्लो पुस्तामा रोहितको कप्तानीलाई महत्वपूर्ण अध्यायका रूपमा हेर्ने गरिन्छ।

रोहितले कप्तानी सम्हाल्दा नेपाल विश्वकप लिग-२ मा संघर्ष गरिरहेको थियो। एकदिवसीय विश्वकपमा पुग्ने नेपालको सम्भावना कमजोर देखिएका बेला टोलीलाई लगातार जित आवश्यक थियो। त्यस्तो परिस्थितिमा रोहितको नेतृत्वमा नेपालले उत्कृष्ट पुनरागमन गर्‍यो।

लिग-२ को उक्त संस्करणमा नेपालले ३६ खेल खेल्दा १९ खेलमा जित निकाल्यो भने १५ खेलमा पराजित भयो। दुई खेल बराबरीमा सकिए। यस प्रदर्शनका आधारमा नेपालले प्रतियोगितामा तेस्रो स्थान हासिल गर्‍यो र एकदिवसीय विश्वकपको बाटो खोल्यो।

त्यस अभियानमा कप्तान रोहितको व्यक्तिगत प्रदर्शन पनि उल्लेखनीय रह्यो। उनले ३३ खेलमा ९०९ रन बनाए। टोलीलाई नेतृत्व गर्नुका साथै ब्याटिङमा पनि महत्वपूर्ण योगदान दिएका रोहितले कठिन अवस्थामा नेपालको विश्वकप यात्रा सम्भव बनाउन भूमिका खेले।

लिग-२ मा तेस्रो स्थान हासिल गरेपछि नेपालले पहिलोपटक एकदिवसीय विश्वकपमा स्थान बनाउने अवसर पायो। त्यसक्रममा नेपालले टेस्ट मान्यता प्राप्त वेस्ट इन्डिज र जिम्बाब्वेजस्ता टोलीसँग खेल्ने ऐतिहासिक अवसरसमेत प्राप्त गर्‍यो।

रोहितको कप्तानीमा नेपालको अर्को महत्वपूर्ण सफलता सन् २०२३ मा आयो। नेपालले पहिलोपटक एसीसी प्रिमियर कपको उपाधि जित्यो। उपाधि जितेसँगै नेपालले पहिलोपटक एसिया कपमा स्थान बनाउने ऐतिहासिक अवसर पायो।

एसिया कपमा नेपालले भारत र पाकिस्तानजस्ता विश्व क्रिकेटका शक्तिशाली टोलीसँग प्रतिस्पर्धा गर्‍यो। नेपालका लागि ती खेल नतिजाका हिसाबले चुनौतीपूर्ण भए पनि अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो स्तर देखाउने महत्वपूर्ण अवसर बने। नेपाली टोलीका लागि एसिया कपमा सहभागिता नै ठूलो उपलब्धि थियो।

यसले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउन पनि मद्दत गर्‍यो। रोहितको कप्तानीमा हासिल भएको प्रिमियर कपको सफलता त्यस अर्थमा केवल एउटा प्रतियोगिताको उपाधि नभई नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रामा महत्वपूर्ण मोडका रूपमा रह्यो।

एकदिवसीय क्रिकेटमा महत्वपूर्ण उपलब्धि हासिल गरेका रोहितले टी-२० अन्तर्राष्ट्रियमा पनि आफ्नो नेतृत्व क्षमता प्रमाणित गरे। उनको कप्तानीमा नेपालले लगातार दुईपटक टी-२० विश्वकप खेल्ने अवसर पायो।

रोहितकै नेतृत्वमा नेपालले पहिलोपटक टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्र छनोटको उपाधि जितेको थियो। छोटो ढाँचाको क्रिकेटमा नेपाली टोलीको आक्रामक शैली र प्रतिस्पर्धात्मक क्षमतामा सुधार ल्याउन उनको कप्तानीले महत्वपूर्ण भूमिका खेलेको थियो।

त्यस्तै, नेपालले टेस्ट मान्यता प्राप्त वेस्ट इन्डिजविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृङ्खलासमेत जित्यो। गत वर्ष सेप्टेम्बरमा भएको तीन खेलको उक्त शृङ्खला नेपालले २-१ ले आफ्नो पक्षमा पार्‍यो। विश्व क्रिकेटमा स्थापित टोलीविरुद्धको यो सफलता नेपाली क्रिकेटका लागि महत्वपूर्ण उपलब्धि थियो।

रोहितको कप्तानीको प्रभाव उनको नेतृत्वमा खेलेका खेलको सङ्ख्याबाट पनि देखिन्छ। उनले नेपाली राष्ट्रिय टोलीका लागि एकदिवसीय र टी-२० दुवै ढाँचामा गरी कुल १२२ खेलमा कप्तानी गरे। यो नेपाली क्रिकेटमा कुनै पनि खेलाडीले गरेको सर्वाधिक कप्तानी हो।

उनको नेतृत्वमा नेपालले ६३ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्यो। तीमध्ये ३१ खेलमा नेपाल विजयी भयो भने ३० खेलमा पराजित भयो। दुई खेल बराबरीमा सकिए।

त्यस्तै, टी-२० अन्तर्राष्ट्रियमा रोहितले ५९ खेलमा नेपालको नेतृत्व गरे। उनको कप्तानीमा नेपालले ३३ खेल जित्दा २१ खेलमा पराजय बेहोरेको थियो। तीन खेल भने बराबरीमा सकिएका थिए।

यी तथ्याङ्कले रोहितको कप्तानीमा नेपालले प्रतिस्पर्धात्मक क्रिकेट खेल्न थालेको देखाउँछन्। विशेषगरी टी-२० मा जितको सङ्ख्या हारभन्दा उल्लेख्य रूपमा बढी रहनु उनको नेतृत्वको बलियो पक्षका रूपमा देखिन्छ।

रोहितले नेपाली एकदिवसीय टोलीको कप्तानी सम्हाल्दा उनी केवल २० वर्ष ७३ दिनका थिए। यति कम उमेरमै राष्ट्रिय टोलीको नेतृत्व सम्हाल्नु आफैंमा ठूलो चुनौती थियो।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कान्छा कप्तानको सूचीमा रोहित अहिले पनि दोस्रो स्थानमा छन्। उनीभन्दा अगाडि अफगानिस्तानका राशिद खान छन्। राशिदले १९ वर्ष १६५ दिनको उमेरमा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानी सम्हालेका थिए।

कम उमेरमै राष्ट्रिय टोलीको नेतृत्व पाउँदा रोहितमाथि अपेक्षा र दबाब दुवै थियो। तर, समयसँगै उनले कप्तानीमा परिपक्वता देखाउँदै टोलीलाई महत्वपूर्ण सफलतासम्म पुर्‍याए।

रोहितको नेतृत्वबाट हटेसँगै नेपाली क्रिकेटले अब नयाँ कप्तानी संरचना अपनाएको छ। नेपाल क्रिकेट संघले टी-२० अन्तर्राष्ट्रिय टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीलाई दिएको छ भने एकदिवसीय टोलीको नेतृत्व पुनः सन्दीप लामिछानेको हातमा पुगेको छ।

सन्दीप चार वर्षपछि नेपाली टोलीको कप्तानीमा फर्किएका हुन्। उनले यसअघि सन् २०२२ मा नेपालको नेतृत्व गरेका थिए। हालसम्म सन्दीपको कप्तानीमा नेपालले १४ एकदिवसीय र १८ टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ।

यससँगै नेपाली क्रिकेटमा रोहितपछि नेतृत्वको नयाँ पुस्ताले जिम्मेवारी सम्हाल्ने क्रम सुरु भएको छ। दीपेन्द्र र सन्दीपमाथि अब रोहितले बनाएको आधारलाई अझ मजबुत बनाउने चुनौती हुनेछ।

रोहितको कप्तानी यात्रा भने केवल जित र हारको तथ्याङ्कमा सीमित छैन। कठिन परिस्थितिमा जिम्मेवारी सम्हालेर नेपाली टोलीलाई विश्वकप, एसिया कप र अन्तर्राष्ट्रिय शृङ्खलाका ऐतिहासिक अवसरसम्म पुर्‍याउनु उनको कप्तानीको ठूलो उपलब्धि हो।

बालेनलाई सभामुखको आग्रह -‘संसदमा आउनुस्’

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार दिउँसो भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा संघीय संसद्को चालू अधिवेशन, संसद्को गतिविधि तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

स्रोतका अनुसार भेटका क्रममा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन आग्रह गरेका छन्।

‘संसद्मा प्रधानमन्त्रीको खोजी भइरहेको छ। कम्तीमा सदनमा उपस्थित भएर जवाफ दिनुहोस् भनेर सभामुखले आग्रह गर्नुभयो,’ स्रोतले भन्यो।

तर, सभामुखको आग्रहमा प्रधानमन्त्री शाहले ठोस जवाफ नदिएको स्रोतको दाबी छ। प्रतिपक्षी दलहरूले निरन्तर संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै आएका छन्। उनीहरूले सरकारका कामकारबाही तथा विभिन्न समसामयिक विषयमा प्रधानमन्त्रीबाटै जवाफ मागिरहेका छन्।

प्रधानमन्त्री शाह भने संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन अनिच्छुक देखिएको विपक्षी सांसदहरूको आरोप छ।

मंगलबारकै प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भरतबहादुर श्वारले पनि प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनबाट पन्छिएको भन्दै आलोचना गरेका थिए।

संसद्मा प्रधानमन्त्रीको नियमित उपस्थिति र सांसदका प्रश्नको जवाफ दिने विषय पछिल्लो समय राजनीतिक बहसको विषय बन्दै गएको छ।

बालेनको अभिव्यक्ति अभिलेखबाट हटाउन एमालेको माग

काठमाडौं। नेकपा एमालेका सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)को विवादित अभिव्यक्ति सच्याउन सभामुख डीपी अर्यालले पहल गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद मण्डलले प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जानुअघि दिल्लीलाई खुसी पार्ने उद्देश्यले उक्त अभिव्यक्ति दिएको आरोप लगाए।

उनले सभामुख अर्याललाई प्रधानमन्त्रीसँग छलफल गरेर आफ्नो अभिव्यक्ति फिर्ता लिन आग्रह गर्न सुझाए।

‘तपाईं जस्तो शालीन, अनुभवी, योग्य व्यक्तित्व हामीले पाएका छौँ, हामीलाई गर्व छ। तपाईंले पनि प्रधानमन्त्रीजीसँग वार्ता गरी आफ्ना अभिव्यक्ति फिर्ता लिन प्रयास गरिदिनुस्,’ उनले भने।

प्रधानमन्त्रीले आफैँ रोस्ट्रममा आएर अभिव्यक्ति फिर्ता लिने सम्भावना कम रहेको भन्दै सभामुखले पहल गर्नुपर्ने उनको भनाइ थियो।

मण्डलले सभामुखले आवश्यक पहल गरेर प्रधानमन्त्रीको विवादित भनाइ संसद्को अभिलेखबाट हटाउनसमेत आग्रह गरे।

एमाले सांसद मण्डलले सत्तारूढ रास्वपाका सांसदहरूलाई पनि संसद्मा प्रस्तुत हुँदा विषयको सही र गलत पक्ष छुट्याउन आग्रह गरे।

जनताले रास्वपालाई बहुमत दिएको उल्लेख गर्दै उनले संसद्मा हुने हरेक विषयमा ढ्यापढ्याप गरेर समर्थन वा विरोध गर्ने प्रवृत्ति त्याग्न सुझाव दिए।

‘जनताले तपाईंलाई बहुमत प्रदान गरेको छ। संसद्को बैठकमा ठिक वा बेठीक छुट्टाउने प्रयास गर्नुस्। सबैमा ढ्यापढ्याप नगर्नुस्। यो क्रियाकलापले आगामी दिनमा तपाईंहरूलाई पनि भलो हुँदैन,’ उनले भने।

उनले संसद्को गरिमा कायम राख्न सत्तापक्ष र प्रतिपक्ष दुवैका सांसदले विषयवस्तुको गम्भीरता बुझेर जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिए।

‘तपाईं कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ।

कांग्रेस सांसद भरतबहादुर श्वारले मंगलबार प्रतिनिधिसभाको बैठकमा सीमा विवाद, सार्वजनिक सेवा प्रवाह, प्रशासनिक ढिलासुस्ती र भ्रष्टाचारका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसद श्वारले लिम्पियाधुरा, कालापानी र सुस्तालगायत नेपाली भूभागमाथि भारतको दाबी तथा अतिक्रमणको विषयमा सरकारले पर्याप्त पहल नगरेको आरोप लगाए।

प्रधानमन्त्रीले आफ्नो कार्यकक्षमा अखण्ड नेपालको नक्सा राखेको प्रसंग उल्लेख गर्दै उनले चुच्चे नक्सासहितको १०० रुपैयाँको नोट प्रकाशनका विषयमा समेत प्रश्न उठाए।

‘आफ्नो कार्यकक्षमा अखण्ड नेपालको नक्सा राख्ने प्रधानमन्त्रीले अहिले चुच्चे नक्सा मेटाएर १०० को नोटमा छाप्न किन बाध्यकारी अवस्था आयो ?’ उनले प्रश्न गरे।

उनले सर्वसाधारणले दैनिक रूपमा भोगिरहेका सार्वजनिक सेवा सम्बन्धी समस्याप्रति पनि सरकारको ध्यानाकर्षण गराए। विद्युत् महसुल, राहदानी, सवारी चालक अनुमतिपत्र तथा मालपोतका सेवामा नागरिकले लामो समयदेखि सास्ती खेप्नुपरेको उनले बताए।

अनलाइन प्रणाली लागू गरिएको भनिए पनि व्यवहारमा सेवा लिन नागरिकले झन् कठिनाइ भोग्नुपरेको उनको टिप्पणी थियो। मालपोतमा सामान्य प्रकृतिको कामसमेत लामो समयसम्म अल्झिने गरेको उल्लेख गर्दै उनले आफू पनि यसको प्रत्यक्ष भुक्तभोगी भएको बताए।

‘मालपोतको सानो जग्गा फुकुवा गर्न ६ महिना लाग्दा पनि काम हुँदैन, यसको भुक्तभोगी म आफैँ हुँ,’ उनले भने।

श्वारले सुदूरपश्चिम र अछामका विकास निर्माण तथा स्थानीय समस्याबारे छलफल गर्न प्रधानमन्त्रीसँग भेटका लागि लामो समयदेखि प्रयास गरे पनि समय नपाएको गुनासो गरे।

आफूले चैत २१ गतेदेखि प्रधानमन्त्रीसँग भेटका लागि समय माग्दै आए पनि भेट हुन नसकेको भन्दै उनले प्रधानमन्त्रीप्रति आक्रोश व्यक्त गरे।

‘तपाईं कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ प्रधानमन्त्रीज्यू ? यो समग्र सुदूरपश्चिम र अछामका जनतामाथि गरिएको अपमान हो,’ उनले भने।

उनले सुदूरपश्चिमका जनताप्रति देखावटी सद्भाव नराख्न पनि प्रधानमन्त्रीलाई आग्रह गरे।

कांग्रेस सांसद श्वारले भ्रष्टाचारका विषयमा सरकारले दोहोरो मापदण्ड अपनाएको आरोप लगाए। पहुँच र राजनीतिक सम्बन्धका आधारमा अनुसन्धानमा फरक व्यवहार गर्न नहुने उनको भनाइ थियो।

उनले भ्रष्टाचारसँग जोडिएका सबै व्यक्तिको सम्पत्ति तथा सम्बन्धित फाइलमाथि निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरे।

सीमा सुरक्षा, सार्वजनिक सेवा सुधार, प्रशासनिक प्रभावकारिता र भ्रष्टाचार नियन्त्रणमा सरकारले स्पष्ट नीति र समान मापदण्ड अपनाउनुपर्नेमा उनले जोड दिए।

६ हजार ४०० ले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेको हो भने चाँदीको मूल्य प्रतितोला १ सय १० रुपैयाँले उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ पुगेको छ।

सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदी प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

एकै दिन सुनको मूल्यमा उल्लेख्य वृद्धि भएपछि नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ उचाइतर्फ गति लिएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव तथा विदेशी विनिमय दरलगायतका कारणले नेपाली बजारमा समेत सुनचाँदीको मूल्य प्रभावित हुने गरेको छ।

‘जेनजी आन्दोलनमा जलेका सरकारी कागजातबारे सरकार स्पष्ट होस्’

काठमाडौं। नेकपाका सांसद वर्षमान पुनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जलेका सरकारी कागजात तथा सम्पत्तिका विषयमा सरकारले स्पष्ट नीति बनाउनुपर्ने बताएका छन्।

सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै पुनले सरकारी कार्यालयका महत्वपूर्ण कागजात नष्ट हुँदा लेखा परीक्षण प्रभावित हुनसक्ने भन्दै त्यसलाई गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने बताए।

भदौ २३ र २४ गतेको क्षतिलाई प्राकृतिक प्रकोप वा सामान्य दुर्घटनाका रूपमा मात्रै हेर्न नमिल्ने उनको भनाइ छ। विद्यमान कानुनी व्यवस्थाले यस्तो घटनालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसक्ने भन्दै उनले छुट्टै संयन्त्र वा आयोग आवश्यक पर्ने–नपर्ने विषयमा समेत सरकारले स्पष्ट धारणा बनाउनुपर्ने बताए।

‘यो प्राकृतिक प्रकोप होइन। क्षति भएको या दुर्घटना पनि होइन। त्यसैले यस सम्बन्धी सरकारको दृष्टिकोण बन्नुपर्छ,’ पुनले भने, ‘यो घटनाका लागि छुट्टै संयन्त्र वा आयोग आवश्यक पर्ने हो कि भन्ने विषयमा समेत स्पष्ट हुनुपर्छ।’

उनले यसका लागि कार्की आयोगको कार्यादेश र प्रतिवेदनले सरकारी कागजात तथा सम्पत्ति नष्ट भएको विषयलाई सम्बोधन गरेको छ कि छैन भन्ने अध्ययन गर्नुपर्ने बताए।

सरकारी मूल कागजात नष्ट भए पनि अन्य निकायमा सुरक्षित रहेका अभिलेख तथा तथ्यांकबाट विवरण पुनः प्राप्त गर्न सकिने पुनले बताए।

उनका अनुसार महालेखा नियन्त्रकको कार्यालयमा दैनिक रूपमा हुने निकासा, खर्च तथा आम्दानीको विवरण सुरक्षित हुने भएकाले त्यस्ता ‘सेकेन्डरी डेटा’ प्रयोग गरेर लेखापरीक्षण अघि बढाउन सकिन्छ।

‘मूल कागजात नष्ट भए पनि सरकारी निकायमा रहेका सेकेन्डरी डेटा र अन्य सुरक्षित अभिलेखबाट विवरण पुनः प्राप्त गर्न सकिन्छ,’ उनले भने।

नष्ट भएका कागजातका कारण लेखापरीक्षण रोकिन नहुने भन्दै वैकल्पिक प्रमाण र तथ्यांकका आधारमा अभिलेख पुनर्स्थापना गर्ने प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ।

पुनले सरकारी कागजात तथा सम्पत्ति नष्ट गर्ने कार्यमा संलग्न व्यक्तिहरूका सम्बन्धमा समेत राज्यले स्पष्ट नीति र कानुनी प्रक्रिया तय गर्नुपर्ने बताए।

त्यसका आधारमा क्षतिको मूल्याङ्कन, कागजात पुनःप्राप्ति तथा लेखापरीक्षणको प्रक्रिया अघि बढाउन सहज हुने उनको भनाइ छ।

सरकारले यस विषयमा सम्बन्धित निकायसँग छलफल गरेर साझा दृष्टिकोण बनाउनुपर्ने र आवश्यक परे कानुनी व्यवस्था गर्न विषयलाई संसद्मा लैजान सकिने उनले बताए।

भदौ २३ र २४ गतेका घटनालाई आधार बनाएर अनियमितता वा भ्रष्टाचार गर्ने अवस्था सिर्जना हुन नदिन सार्वजनिक लेखा समितिले पनि निगरानी बढाउनुपर्ने पुनले बताए।

मूल कागजात उपलब्ध नभएको अवस्थालाई बहाना बनाएर खराब नियतले अनियमितता हुनसक्ने जोखिमप्रति सचेत हुनुपर्ने उनको भनाइ छ।

लेखापरीक्षणका क्रममा मूल कागजात नभएको अवस्थामा वैकल्पिक प्रमाण तथा तथ्यांकबाट विवरण पुनर्स्थापित गर्ने प्रयास भए–नभएकोबारे सम्बन्धित निकायसँग स्पष्ट विवरण माग गर्नुपर्ने उनले बताए।

पुनले सरकारी अभिलेख नष्ट भएको विषयलाई केवल क्षतिको घटनाका रूपमा नभई राज्यको वित्तीय अनुशासन, अभिलेख संरक्षण र आगामी लेखापरीक्षणसँग जोडिएको गम्भीर विषयका रूपमा लिनुपर्ने धारणा राखेका छन्।

सदनमा विपक्षीको विरोध कायमै

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलहरूले विरोध जनाएका छन्। बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरू उठेर विरोध जनाएपछि सदनको वातावरण केही समय तनावपूर्ण बनेको थियो।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले गत जेठ १७ गते दिएको सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिलाई लिएर निरन्तर आपत्ति जनाउँदै आएका छन्। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले नेपालको राष्ट्रिय हित, सीमा र सार्वभौमिकतासँग जोडिएको संवेदनशील विषयमा प्रश्न उठाएको भन्दै विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्मा स्पष्ट जवाफ दिनुपर्ने र सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै आएका हुन्।

आजको बैठकमा पनि विपक्षी सांसदहरूले सोही विषयलाई लिएर विरोध जनाएका थिए। बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरू उठेपछि सभामुखले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए। तर, विपक्षी सांसदहरूले आफ्नो माग सम्बोधन नभएसम्म विरोध जारी राख्ने संकेत गरेका छन्।

विपक्षी दलहरूको तर्फबाट बोल्दै नेपाली कांग्रेसका सांसद भरतकुमार स्वाँरले प्रधानमन्त्री बालेन्द्र शाहले सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिका लागि माफी माग्नुपर्ने बताए। उनले प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिबाट राष्ट्रिय सीमा र सार्वभौमिकतासँग सम्बन्धित विषयमा गैरजिम्मेवार अभिव्यक्ति आउनु गम्भीर विषय भएको बताए।

स्वाँरले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे संसद्मा स्पष्ट पार्नुपर्ने र त्यसप्रति आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग गरे। राष्ट्रियता, सीमा र सार्वभौमिकतासँग जोडिएका विषयमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री बालेनको जेठ १७ गतेको अभिव्यक्तिलाई लिएर यसअघि पनि प्रतिनिधिसभामा विपक्षी दलहरूले लगातार आवाज उठाउँदै आएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने तथा विवादास्पद अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै आएका छन्।

बालेनले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा मंगलबार मन्त्रिपरिषद् बैठक बस्दै छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ३ बजे बैठक बोलाइएको हो।

बैठकमा मन्त्रालयगत एजेन्डासहित समसामयिक विषयमा छलफल हुने र विभिन्न निर्णय गरिने बताइएको छ।

मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिबारे समेत निर्णय गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ।

बैठकमा अन्य प्रशासनिक तथा नियमित मन्त्रालयगत प्रस्तावसमेत छलफलका लागि पेस हुने बताइएको छ।

देउवा भेला रोक्न शशांकको किर्ते हस्ताक्षर,नक्कली विज्ञप्ति

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले काठमाडौंमा साउन २९ देखि ३१ गतेसम्म आयोजना हुने भनिएको राष्ट्रिय भेला स्थगित नभएको स्पष्ट पारेको छ।

भेला स्थगित भएको भन्दै आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नाममा सामाजिक सञ्जालमा विज्ञप्ति भाइरल भएपछि देउवा समूहले त्यसको खण्डन गरेको हो।

देउवा समूहका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले निर्धारित मितिमै भेला हुने भन्दै कुनै पनि भ्रममा नपर्न आग्रह गरेका छन्। उनका अनुसार भेलाको तयारी तीव्र रूपमा भइरहेको छ र कार्यक्रम तोकिएकै समयमा सञ्चालन हुनेछ।

विश्वकर्माले प्रा. डा. शशांक कोइरालाको नेतृत्व, शीर्ष नेताहरूको समर्थन, सभापति शेरबहादुर देउवाको स्वदेश आगमन तथा भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भइसकेको उल्लेख गरेका छन्।

उनले सर्वोच्च अदालतले कांग्रेसको विवरण अद्यावधिकसम्बन्धी मुद्दामा पुनरावलोकनको अनुमति दिएको विषयलाई समेत जोड्दै भेलाबारे भ्रम फैलाउने काम भएको दाबी गरेका छन्।

‘प्रा.डा. शशांक कोइरालाको नेतृत्व, शीर्ष नेताहरूको समर्थन, सभापति शेरबहादुर देउवाको स्वदेश आगमन र भेलालाई सम्बोधन गर्नुहुने तथा अदालतबाट मुद्दाको पुनरावलोकन गर्ने आदेश (अनुमति) समेत आइसकेपछि डराएको हताश मनस्थितिको उपजको रूपमा कार्यक्रमबारे जथाभाबी लेखेका हुन्,’ उनले भनेका छन्।

संयोजक कोइरालाको किर्ते हस्ताक्षरसमेत प्रयोग गरेर तथाकथित विज्ञप्ति जारी गरिएको भन्दै उनले आपत्ति जनाएका छन्।

विश्वकर्माले भेलालाई रोक्न खोज्नेहरूले भ्रम फैलाएको हुनसक्ने दाबी गर्दै कार्यक्रम कुनै हालतमा नरोकिने बताएका छन्।

उनले भने, ‘नक्कली विज्ञप्ति निकालेर भ्रम फैलाइएको छ। तोकिएकै समयमा हाम्रो कार्यक्रम हुन्छ। यो भेलालाई रोक्न खोज्नेहरूले भ्रम फैलाएको हुनसक्छ। मैले हाम्रो आधिकारिक कुरा फेसबुकबाट जानकारी गराइसकेको छु।’

भेलामा देउवा पक्षका नेता-कार्यकर्ताको सहभागिता रहने आयोजकले जनाएको छ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु, आइजीपी कार्कीले गरे उद्घाटन

काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ ।

मंगलबारदेखि सुरु भएको एक्स्पोको प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले उद्घाटन गरेका हुन् । एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ ।

एक्स्पोमा विभिन्न अटोमोबाइल ब्रान्डका नयाँ सवारीसाधन तथा उत्पादन प्रदर्शनमा राखिएका छन् । आयोजकका अनुसार एक्स्पोमा ५३ वटा ब्रान्डको सहभागिता रहेको छ भने ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादन सार्वजनिक गरिनेछ ।

एक्स्पोमा विद्युतीय तथा अन्य प्रविधिमा आधारित नयाँ सवारीसाधन, अटोमोबाइलका उत्पादन र सेवाबारे अवलोकन तथा जानकारी लिन सकिने आयोजकले जनाएको छ ।

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

१०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

पर्सा । पर्सामा १०५ किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको पश्चिम चम्पारण जिल्ला, बेतीया ग्राम उजहरु परजिलवा भांगाहका ५० वर्षीय सउरु चौधरी रहेका छन् ।

लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा सोमबार राति खटिएको प्रहरी टोलीले उनलाई पटेर्वासुगौली गाउँपालिका–३, सोनवर्षाबाट पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पटेर्वा र ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रूपमा बोरा बोकेर हिँडिरहेका चौधरीलाई नियन्त्रणमा लिएको थियो । चेकजाँच गर्दा उनले बोकेको बोराभित्र प्लास्टिकबाहेक १०५ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि सोमबार साँझ नै पर्सामा स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित एक भारतीय र तीन नेपाली नागरिक पक्राउ परेका थिए। पछिल्ला घटनासँगै पर्सामा लागुऔषध तथा अवैध रकम ओसारपसारविरुद्ध प्रहरीले निगरानी बढाएको छ।

देउवा समुहको भेलामा शेखरको पनि सहभागिता

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा नेता डा. शेखर कोइराला पनि सहभागी हुने भएका छन्।

गगन थापा नेतृत्वको वर्तमान कार्यसमितिलाई अस्वीकार गर्दै देउवा समूहले यही २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्न लागेको हो। कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार उक्त भेलामा डा. शेखर कोइराला सहभागी भएर सम्बोधनसमेत गर्नेछन्।

देउवा समूहको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित यसअघिका कुनै पनि बैठकमा सहभागी नभएका कोइराला राष्ट्रिय भेलामा भने सहभागी हुन लागेका हुन्। पार्टीभित्र देखिएको आन्तरिक विवादमा कोइरालाले पछिल्लो समय मध्यमार्गी भूमिका निर्वाह गर्दै आएका छन्।

देउवा समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजना गर्न लागेको हो। भेलालाई पूर्वसभापति शेरबहादुर देउवाले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले पुनः सुनुवाइका लागि निस्सा दिएपछि देउवा समूह थप उत्साहित बनेको छ। अदालतले फैसला पुनरावलोकनका लागि बाटो खुला गरेपछि तत्कालका लागि पार्टी विभाजनको सम्भावना टरेको नेताहरूको बुझाइ छ। अब राष्ट्रिय भेलामार्फत पार्टीको आगामी रणनीति र नेतृत्वबारे देउवा समूहले आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।

 

…जब श्रीदेवीलाई मनाउन अमिताभले पठाइदिए ट्रकभरि फूल

काठमाडौं। अमिताभ बच्चनलाई बलिउडका ‘महानायक’ भनिन्छ । उनीसँग एकपटक पर्दा बाँड्न पाउनु धेरै कलाकारका लागि ठूलो अवसर मानिन्थ्यो । तर बलिउडमा एउटा यस्तो अभिनेत्री पनि थिइन्, जसले अमिताभसँग काम गर्नै नचाहने अडान लिएकी थिइन् ।

उनी थिइन्, ‘श्रीदेवी’।

आफ्नो अभिनय, सौन्दर्य र स्टारडमका कारण बलिउडमा छुट्टै साम्राज्य बनाएकी श्रीदेवी त्यतिबेला फिल्ममा नायिकाको भूमिकालाई लिएर निकै सचेत थिइन् । उनको बुझाइ थियो अमिताभजस्ता ठूला स्टारको फिल्ममा नायकको भूमिका बलियो हुने र नायिकाको भूमिका ओझेलमा पर्ने ।

त्यसैले अमिताभसँग ‘आखिरी रास्ता’मा काम गरेपछि श्रीदेवीले उनीसँग फेरि काम नगर्ने निर्णय लिएको चर्चा भयो ।

अझ कतिपय भारतीय सञ्चारमाध्यममा त उनले अमिताभसँग काम नगर्ने कसम नै खाएको उल्लेख पाइन्छ ।

तर फिल्मी दुनियाँमा जे सोचिन्छ, सधैं त्यही हुँदैन ।

सन् १९९२ मा प्रदर्शन भएको ‘खुदा गवाह’को तयारी भइरहेका बेला निर्देशक मुकुल आनन्द र निर्माताको नजर श्रीदेवीमाथि थियो । फिल्ममा अमिताभ बच्चन मुख्य भूमिकामा थिए र उनको जोडीका रूपमा श्रीदेवीलाई लिन चाहिएको थियो ।

तर समस्या एउटै थियो श्रीदेवी तयार थिइनन् ।

अमिताभले भने उनलाई फिल्ममा जसरी पनि ल्याउन चाहेका थिए । अन्ततः उनलाई मनाउने जिम्मेवारी पनि अमिताभकै प्रयासमा पुगेको बताइन्छ ।

श्रीदेवीलाई प्रभावित पार्न अमिताभले एउटा अनौठो तर निकै फिल्मी शैली अपनाए ।

उनका लागि ट्रकभरि फूल पठाइयो ।

फूलको त्यो विशाल उपहारले श्रीदेवीलाई प्रभावित बनायो । अमिताभसँग काम नगर्ने आफ्नो पुरानो अडानमा उनी केही नरम भइन् । तर उनले एउटा शर्त राखिन् ।

श्रीदेवी अमिताभकी नायिका मात्र भएर फिल्ममा सीमित हुन चाहन्नथिन् । उनको भूमिका पनि उत्तिकै प्रभावशाली हुनुपर्ने उनको चाहना थियो ।

त्यसपछि फिल्ममा उनलाई दोहोरो भूमिका दिइयो ।

‘खुदा गवाह’मा श्रीदेवीले आमा र छोरीको भूमिका निर्वाह गरिन् । एउटै फिल्ममा दुई फरक चरित्रलाई उनले आफ्नो अभिनयमार्फत जीवन्त बनाइन् ।

फिल्ममा अमिताभ र श्रीदेवीको जोडी निकै रुचाइयो । अफगानिस्तानको पृष्ठभूमिमा बनेको यो फिल्म आफ्नो समयको चर्चित फिल्ममध्ये एक बन्यो ।

श्रीदेवीका लागि पनि यो फिल्म विशेष रह्यो ।

किनकि यो केवल अमिताभ बच्चनसँग पुनः पर्दामा देखिएको फिल्म थिएन । यो उनको एउटा अडान र एउटा ठूलो स्टारको आग्रहबीच बनेको सम्झनलायक सहकार्य पनि थियो ।

श्रीदेवीको करियरलाई हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ।

उनी कुनै पुरुष स्टारको छायामा रहेर सफल भएकी अभिनेत्री होइनन् ।

‘हिम्मतवाला’देखि ‘सदमा’, ‘नगीना’, ‘मिस्टर इन्डिया’, ‘चाँदनी’, ‘चालबाज’ हुँदै ‘लम्हे’सम्म आइपुग्दा उनले फरक–फरक चरित्रमा आफूलाई प्रमाणित गरिन् ।

‘चालबाज’मा उनको कमेडी होस्, ‘सदमा’को भावुक भूमिका होस् वा ‘मिस्टर इन्डिया’को चञ्चल अनिल कपूरकी नायिका-श्रीदेवीले हरेक भूमिकामा आफ्नो छुट्टै छाप छाडिन् ।

त्यसैले उनलाई बलिउडकी पहिलो महिला सुपरस्टारमध्ये एक मानिन्छ ।

उनको स्टारडम यति ठूलो थियो कि कतिपय फिल्ममा नायकभन्दा श्रीदेवीको नामले नै दर्शक तान्ने अवस्था थियो ।

‘खुदा गवाह’ श्रीदेवी र अमिताभको जोडीका लागि विशेष फिल्म बन्यो । एक समय अमिताभसँग काम गर्न अस्वीकार गरेकी श्रीदेवी अन्ततः उनै अमिताभसँग फिल्ममा देखिइन् ।

त्यो पनि आमा र छोरीको दोहोरो भूमिकामा।

यही कारण ‘खुदा गवाह’को कथा फिल्मको पर्दाभित्र मात्र सीमित छैन । पर्दाबाहिर श्रीदेवीलाई फिल्ममा ल्याउन गरिएको अमिताभको प्रयासको किस्सा पनि उत्तिकै रोचक छ ।

बलिउडमा स्टारहरूबीचको सम्बन्ध, अहंकार, असहमति र पुनः सहकार्यका यस्ता किस्सा धेरै छन् । तर श्रीदेवी र अमिताभको ‘खुदा गवाह’को कथा भने अलि फरक छ ।

एक अभिनेत्री, जसले अमिताभसँग काम नगर्ने अडान लिएकी थिइन् । एक महानायक, जसले उनलाई फिल्ममा ल्याउन ट्रकभरि फूल पठाए । अनि एउटा फिल्म, जसले दुवैलाई फेरि पर्दामा ल्याइदियो ।

सायद यही कारण ‘खुदा गवाह’लाई अमिताभ र श्रीदेवीको फिल्मी यात्राको एउटा सम्झनलायक अध्यायका रूपमा आज पनि सम्झिन्छन् ।

ठूला नदीमा बाढीको जोखिम कम, पहाडी क्षेत्रमा आकस्मिक बाढीको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख तथा मझौला नदीहरूमा तत्काल ठूलो बाढीको जोखिम नरहेको जनाएको छ। मंगलबार बिहान जारी गरिएको बुलेटिनअनुसार अधिकांश ठूला नदीको जलसतह हाल सतर्कता तहभन्दा तलै रहेको छ।

महाशाखाका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली नदी तथा तिनका सहायक नदीहरूमा जलसतह सामान्य अवस्थामा छ। कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीमा पनि हाल ठूलो बाढीको जोखिम देखिएको छैन।

यद्यपि ठूला नदीमा अवस्था सामान्य रहे पनि पहाडी तथा हिमाली क्षेत्रका साना नदी तथा खोलामा भने आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ। सोमबार गरिएको पूर्वानुमानअनुसार देशका ३२ जिल्लामा बहने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने सम्भावना छ।

पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवनका साना नदी तथा खोलामा जलसतह बढ्न सक्ने जनाइएको छ।

त्यस्तै, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बझाङ र डोटी आसपासका खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै महाशाखाले आगामी दुई दिनसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। बुधबार र बिहीबार विशेषगरी कोशी र गण्डकी प्रदेश भएर बहने केही साना नदी तथा खोलामा पानीको बहाव अचानक बढ्न सक्ने सम्भावना रहेको जनाइएको छ।

महाशाखाले जोखिमयुक्त क्षेत्रका नदी तथा खोला किनारमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन तथा नदी र खोलाको बहाव बढेको अवस्थामा अनावश्यक रूपमा किनारमा नजान आग्रह गरेको छ।

उत्कृष्ट काम गर्ने मन्त्रीको मन्त्रालयमै सरुवामा ‘राजनीतिक ट्याग’

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारमा उत्कृष्ट कार्यसम्पादन गर्ने मन्त्रीका रूपमा प्रचारित सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको मन्त्रालयमा कर्मचारी सरुवालाई लिएर कर्मचारी वृत्तमा असन्तुष्टि देखिएको छ।

मन्त्रालयमा लामो समयदेखि प्रभाव जमाएर बसेका कर्मचारीलाई छुन नसकिएको तर एमाले र कांग्रेसनिकटको आरोप लगाउँदै कर्मचारीलाई सरुवा गर्ने क्रम बढेको कर्मचारीहरूको गुनासो छ।

हालै मन्त्रालयले २४ जना उपसचिवको सरुवा गरेको थियो। सरुवाका क्रममा निजामती सेवा ऐनको व्यवस्थाविपरीत जीवनराज सेढाईंलाई अतिरिक्त समूहमा राखिएको र त्यसपछि उनले राजीनामा दिएको कर्मचारी स्रोतको दाबी छ।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट पशुपति महतलाई एमालेनिकट भएको आरोप लगाउँदै सरुवा गरिएको बताइएको छ। यसअघि अर्थमन्त्री रामेश्वर खनालको सचिवालयमा काम गरेका दीपक ढकाललाई कांग्रेसनिकटको ट्याग लगाउँदै जिल्ला समन्वय समिति काभ्रेमा पठाइएको स्रोतको भनाइ छ। हरिप्रसाद चापागाईंलाई पूर्वएमाले भएको आरोप लगाउँदै मन्त्रालयबाट बाहिर पठाइएको पनि कर्मचारीहरूले बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा उनको सचिवालयमा रहेर काम गरेका गोकर्ण उपाध्यायलाई समेत कांग्रेसनिकटको आरोप लगाउँदै लम्कीचुहा खटाइएको स्रोतको दाबी छ।

उपसचिवहरू निर्मला न्यौपाने, माधवप्रसाद ढकाल, लेखनाथ न्यौपाने, नेत्र पौडेल, महेन्द्र बिक, अनुषा कोइराला र विवेक घिमिरेलाई एमालेनिकटको आरोप लगाउँदै सरुवा गरिएको कर्मचारीहरूको भनाइ छ। त्यस्तै, उत्तम घिमिरे, रमेश पाण्डेय, पूर्वमन्त्री बद्री पाण्डेको सचिवालयमा काम गरेका हिमाल गौतम र लीलाधर अवस्थीलाई कांग्रेसनिकटको आरोप लगाउँदै सामान्य प्रशासन मन्त्रालयबाट बाहिर पठाइएको दाबी गरिएको छ।

सरुवामा को हावी ?

कर्मचारीहरूको भनाइमा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी सरुवाको निर्णय प्रक्रियामा मन्त्री तथा मन्त्रालयका उच्च अधिकारीसँगै राजनीतिक पहुँच भएका व्यक्तिहरूको प्रभाव देखिने गरेको छ।

सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरूका अनुसार तल्लो तहका कर्मचारीको सरुवामा दीपक बोहराको प्रभाव रहने गरेको छ। सहसचिव तथा सचिव तहका कर्मचारीको सरुवामा भने सुवास शर्मालगायतका व्यक्तिहरूको हस्तक्षेप हुने गरेको कर्मचारी स्रोतको दाबी छ।

यद्यपि, कर्मचारी सरुवामा राजनीतिक आस्थाका आधारमा विभेद गरिएको भन्ने आरोपबारे मन्त्रालयको आधिकारिक धारणा सार्वजनिक भएको छैन।

कर्मचारीहरू भने प्रशासनिक निर्णयमा राजनीतिक दलसँगको निकटता वा विगतको जिम्मेवारीलाई आधार बनाउने प्रवृत्तिले निजामती सेवाको निष्पक्षता र व्यावसायिकतामाथि प्रश्न उठ्ने बताउँछन्।

एकातिर मन्त्रालयमा लामो समयदेखि जिम्मेवारी सम्हाल्दै आएका कर्मचारीको प्रभाव कायमै रहने र अर्कोतिर राजनीतिक आस्था वा विगतको जिम्मेवारीका आधारमा कर्मचारी सरुवा गरिने अवस्था देखिए त्यसले प्रशासन सुधारको दाबीमाथि नै प्रश्न उठाउने उनीहरूको भनाइ छ।

कर्मचारी सरुवालाई नियमित प्रशासनिक प्रक्रियाभन्दा राजनीतिक छानबिन र वर्गीकरणको माध्यम बनाइन नहुने उनीहरूको माग छ। सरुवामा स्पष्ट मापदण्ड, पारदर्शिता र कानुनको पालना हुनुपर्ने कर्मचारीहरूको जोड छ।

सीटीईभीटीका ज्यालादारी श्रमिक आन्दोलित, ७४ जनालाई काममा फर्काउन माग

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूले रोजगारी सुरक्षालगायत विभिन्न माग राख्दै परिषद्को सानोठिमीस्थित केन्द्रीय कार्यालय घेराउ गर्ने भएका छन्।

करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिले कार्यरत श्रमिकलाई हालकै पदमा निरन्तर काम गर्न पाउने व्यवस्था गर्नुपर्ने, रोजगारीको सुरक्षा र सेवा–सुविधा सुनिश्चित गर्नुपर्नेलगायतका माग अघि सारेको छ।

समितिले रोजगारीबाट बाहिरिएका ७४ जना श्रमिकलाई पुनः काममा फर्काउनुपर्ने माग गरेको छ। त्यस्तै, करार कर्मचारीलाई दसैं पेश्की, पोशाक, प्रशिक्षण, दुर्गम तथा स्थानीय भत्तालगायतका सुविधा उपलब्ध गराउनुपर्ने माग पनि समितिको छ।

मासिक ज्यालादारी कर्मचारीलाई हालकै अवस्थामा निरन्तर काम गर्न दिनुपर्ने तथा पोशाकलगायतका सुविधा उपलब्ध गराउनुपर्ने समितिको माग छ। उनीहरूको सेवा तथा कार्यअवस्था एकतर्फी रूपमा परिवर्तन गर्न नहुनेसमेत समितिले जनाएको छ।

आन्दोलनमा सहभागी भएकै आधारमा कुनै पनि श्रमिकमाथि पूर्वाग्रह, विभेद वा प्रतिशोधपूर्ण व्यवहार नगर्न समितिले व्यवस्थापनसँग आग्रह गरेको छ।

श्रमिकहरूले आफ्ना माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता, कार्यान्वयनको समयसीमा र स्पष्ट कार्ययोजना सार्वजनिक गर्नसमेत माग गरेका छन्। व्यवस्थापनसँग टकरावको बाटो रोज्नुभन्दा संवाद र सहमतिमार्फत समस्या समाधान गर्न आफूहरू तयार रहेको समितिको भनाइ छ।

माग सम्बोधन नभएसम्म खबरदारीका कार्यक्रम जारी राख्ने समितिले जनाएको छ।

तस्वीरहरू:

 

अभावबीच पारा पौडीको सपना : पदक जित्ने लक्ष्यमा नेपाली खेलाडी

काठमाडौं । पौडी खेल्न पानी चाहिन्छ। तर, पारा पौडी खेलाडीका लागि पानीमा उत्रिनु मात्र पर्याप्त हुँदैन। नियमित प्रशिक्षण, अपाङ्गमैत्री पूर्वाधार, दक्ष प्रशिक्षक, फिजियोथेरापी, रिकभरी, पोषण, यातायात र आर्थिक सहयोग पनि उत्तिकै आवश्यक हुन्छ।

नेपालका चार पारा पौडी खेलाडी भने यिनै आधारभूत सुविधाको अभावबीच अन्तर्राष्ट्रिय मञ्चमा देशको झण्डा फहराउने सपना बोकेर अभ्यास गरिरहेका छन्। उनीहरूका कथा फरक छन्, संघर्ष फरक छन्, तर लक्ष्य एउटै छ, पानीमा आफ्नो क्षमता प्रमाणित गर्ने र नेपालका लागि पदक जित्ने।

सन् २०१० देखि नेपालले पारा एसियाली खेलकुदमा सहभागिता जनाउँदै आएको छ। तर, यो प्रतियोगितामा नेपालको पदक यात्रा अझै सीमित छ। सन् २०२३ मा चीनको हाङझाउमा भएको १९औँ पारा एसियाली खेलकुदमा तेक्वान्दोकी पलेशा गोवर्धनले जितेको कांस्य पदक नै हालसम्म नेपालको एक मात्र पदक हो।

अब चार पारा पौडी खेलाडी त्यो इतिहासमा अर्को अध्याय थप्ने तयारीमा छन्।

पारा पौडी संघको आयोजनामा मुख्य प्रशिक्षक सुवास श्रेष्ठले सृजना सार्की, जेनिशा कठायत, हर्कमान घर्ती र मेम्बर सिङ्गी स्याङ्बोलाई प्रशिक्षण दिइरहेका छन्।

पछिल्ला केही महिनादेखि उनीहरू नियमित अभ्यासमा छन्। खेलाडीको मेहनत र लगनमा कमी छैन। समस्या छ भने तयारीका लागि आवश्यक स्रोत र पूर्वाधारमा।

प्रशिक्षणका लागि स्विमिङ पुलकै व्यवस्था गर्नु उनीहरूको पहिलो चुनौती थियो। रिफ्रेस रिक्रिएसन सेन्टरले सहुलियत दरमा पुल र लेन उपलब्ध गराएपछि अभ्यास केही सहज भएको छ। तर, पानीमा अभ्यास गर्न पाउनु मात्रै पर्याप्त छैन।

फिजियोथेरापी, रिकभरी, ज्याकुजी, पोषण, यातायात र आवश्यक खेल सामग्रीको अभाव अझै छ। अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा प्रतिस्पर्धा गर्नुपर्ने खेलाडीका लागि यी सुविधा तयारीको अभिन्न हिस्सा हुन्।

प्रशिक्षक श्रेष्ठका लागि पनि यही सबैभन्दा ठूलो चुनौती हो सीमित स्रोतका बीच खेलाडीको क्षमतालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउनु।

खेलाडीमा प्रतिभा छ, मेहनत छ र आत्मविश्वास पनि छ। तर, पर्याप्त सुविधा नहुँदा उनीहरूले आफ्नो क्षमताअनुसार तयारी गर्न पाइरहेका छैनन्।

१९ वर्षीया सृजना सार्कीका लागि आगामी प्रतियोगिता विशेष हुनेछ। यो उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो।

जुम्लाकी सृजनाको जीवन तीन वर्षअघि अचानक बदलियो। माटो खन्ने क्रममा पहिरो वा ढिस्कोमा पुरिएपछि उनले अपाङ्गताको सामना गर्नुपर्‍यो। त्यसपछि जीवन सहज रहेन। तर, उनले आफ्नो सपना भने छाडिनन्।

अहिले गोकर्णेश्वरमा बसेर स्नातक तहको अध्ययनको तयारी गरिरहेकी उनी प्रशिक्षणका लागि नियमित रूपमा अभ्यासस्थल पुग्छिन्। कहिले ट्याक्सी त कहिले टेम्पो चढेर प्रशिक्षणमा पुग्ने उनको दैनिकी बनेको छ।

पछिल्लो समय पौडीमा उनले विशेष मेहनत गरिरहेकी छन्। पहिलोपटक अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसरले उनलाई उत्साहित बनाएको छ।

तर, उनी केवल सहभागितामा सीमित हुन चाहन्नन्।

उनको चाहना पानीमा उत्रिँदा आफ्नो विगतका कठिनाइ होइन, आफ्नो क्षमता देखाउने हो। त्यसैले पहिलो अन्तर्राष्ट्रिय यात्रालाई उनी पदकको सम्भावनासँग जोडेर हेरिरहेकी छन्।

बागलुङका २१ वर्षीय हर्कमान घर्तीको जीवन पनि एउटा दुर्घटनापछि बदलियो।

करिब ११ वर्षअघि उनको गाउँमा पहिलोपटक बिजुली पुगेको थियो। त्यही क्रममा मेन इन्सुलेटर समात्दा उनलाई करेन्ट लाग्यो। दुर्घटनामा उनले दुवै हात गुमाए।

तर, हात गुमेपछि उनको सपना रोकिएन।

हर्कमान पछिल्लो छ वर्षदेखि घरेलु खेलकुदमा सक्रिय छन्। पौडी उनको खेलयात्राको महत्वपूर्ण हिस्सा बनेको छ। एक वर्षअघि उनले जापानमा अन्तर्राष्ट्रिय एथलिट लाइसेन्ससमेत बनाएका थिए।

अहिले उनको लक्ष्य तत्कालको प्रतियोगिताभन्दा पनि ठूलो छ। आगामी ओलम्पिक र विश्व च्याम्पियनसिपका लागि आवश्यक समय र क्वालिफिकेसन पूरा गर्ने उनको योजना छ।

तर, त्यसका लागि पर्याप्त प्रशिक्षण सुविधा चाहिन्छ। ज्याकुजी, फिजियोथेरापी र रिकभरीजस्ता सुविधा नियमित रूपमा उपलब्ध नहुँदा तयारी प्रभावित हुने गरेको उनी बताउँछन्।

त्यसैले आगामी प्रतियोगितामा पदकको शतप्रतिशत ग्यारेन्टी गर्न नसकिने उनको भनाइ छ। तर, प्रतिस्पर्धा गर्ने आत्मविश्वास भने कमजोर छैन।

दुवै हात गुमाएका हर्कमानका लागि पौडी केवल खेल होइन, आफ्नो पहिचान संसारसामु स्थापित गर्ने माध्यम बनेको छ।

सुदूरपश्चिमकी जेनिशा कठायतका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता नयाँ अनुभव होइन। उनी करिब नौ वर्षदेखि पौडीमा सक्रिय छिन्।

कक्षा १० मा पढिरहेका बेला उनले खुट्टा गुमाइन्। त्यसपछि पनि पौडीसँगको सम्बन्ध टुटेन। बरु यही खेललाई उनले आफ्नो आत्मविश्वास र पहिचानको आधार बनाइन्।

चीनमा भएको १९औँ एसियाली खेलकुदमा उनले नेपालको प्रतिनिधित्व गरिसकेकी छन्। त्यसबेला उनले आफूले अपेक्षा गरेअनुसार प्रदर्शन गर्न सकिनन्।

तर, त्यो अनुभवले उनलाई रोक्नेभन्दा अझ राम्रो तयारी गर्न प्रेरित गर्‍यो।

अहिले उच्च शिक्षालाई निरन्तरता दिँदै प्रशिक्षणमा पनि ध्यान दिइरहेकी जेनिशा यसपटक अघिल्लो अनुभवलाई सुधारिएको प्रदर्शनमा बदल्न चाहन्छिन्।

उनको लक्ष्य स्पष्ट छ—पदक।

मेम्बर सिङ्गी स्याङ्बोको पौडी यात्रा पनि दुर्घटनाबाटै सुरु भएको हो।

१७ वर्षको उमेरमा रसुवागढी नाकानजिक भएको सडक दुर्घटनामा उनले एउटा खुट्टा गुमाए। त्यतिबेला उनी कन्टेनर गाडीमा हेल्परका रूपमा काम गर्दै गाडी चलाउन सिकिरहेका थिए।

दुर्घटनापछि जीवन सहज रहेन। कृत्रिम खुट्टाको व्यवस्थापनका क्रममा उनको सम्पर्क पौडी खेलसँग जोडियो।

सुरुमा पौडी उनको ठूलो योजना थिएन। अवसर पाएपछि पानीमा उत्रिए। विस्तारै त्यही पानी उनको जीवनको नयाँ बाटो बन्यो।

अहिले २६ वर्षका स्याङ्बो नियमित प्रशिक्षणमा छन्। करिब दुई महिनादेखि निरन्तर अभ्यास गरिरहेका उनी आफ्नो तयारी राम्रो भइरहेको बताउँछन्।

अब उनको लक्ष्य सहभागिता मात्र होइन।

‘मेडल नै ल्याउने’ उनको स्पष्ट उद्देश्य छ।

प्रशिक्षण र दैनिक खर्च व्यवस्थापनमा केही सहयोग पाइरहे पनि सबै आवश्यक सुविधा पर्याप्त छैनन्। तर, त्यसले उनको आत्मविश्वास कमजोर बनाएको छैन।

सृजनाका लागि यो पहिलो अन्तर्राष्ट्रिय यात्रा हो। जेनिशा आफ्नो अघिल्लो अनुभव सुधार्न चाहन्छिन्। हर्कमानको लक्ष्य ओलम्पिक र विश्व च्याम्पियनसिपको बाटो तय गर्नु हो। मेम्बर सिङ्गी भने पहिलो ठूलो अन्तर्राष्ट्रिय अवसरमै पदक जित्न चाहन्छन्।

उनीहरूको विगत फरक छ।

कसैले पहिरोमा अपाङ्गता बेहोरे। कसैले करेन्टबाट दुवै हात गुमाए। कसैले किशोरावस्थामै खुट्टा गुमाए। कसैको जीवन सडक दुर्घटनाले बदलियो।

तर, उनीहरूलाई जोड्ने कुरा एउटै छ—हार नमान्ने इच्छाशक्ति।

उनीहरू अहिले पनि पर्याप्त सुविधाविनै अभ्यास गरिरहेका छन्। अपाङ्गमैत्री खेल पूर्वाधार सीमित छन्। फिजियोथेरापी र रिकभरीको व्यवस्था सहज छैन। पोषण र खेल सामग्रीको पर्याप्त उपलब्धता छैन। प्रशिक्षणस्थलसम्म पुग्नसमेत कतिपय अवस्थामा व्यक्तिगत संघर्ष गर्नुपर्छ।

तर, स्विमिङ पुलमा उत्रिएपछि उनीहरूको ध्यान यी समस्याबाट केही समयका लागि हट्छ।

पानीमा हरेक स्ट्रोकसँगै उनीहरू आफ्नो समय सुधार्न खोज्छन्। हरेक अभ्याससँगै अन्तर्राष्ट्रिय मञ्चमा राम्रो प्रदर्शन गर्ने सपना बुन्छन्।

त्यहाँ उनीहरूको शारीरिक अवस्थाभन्दा खेल क्षमता महत्वपूर्ण हुन्छ।

मुख्य प्रशिक्षक सुवास श्रेष्ठका लागि यी चार खेलाडी केवल खेलाडी होइनन्, सम्भावना बोकेका प्रतिभा हुन्।

उनीहरूको मेहनत र इच्छाशक्ति बलियो छ। तर, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न नियमित र वैज्ञानिक प्रशिक्षण आवश्यक हुन्छ। त्यसका लागि पर्याप्त समय, उपकरण, रिकभरी, पोषण र आर्थिक स्रोत चाहिन्छ।

सीमित साधनका बीच खेलाडीलाई तयार पार्नु चुनौतीपूर्ण भए पनि उनीहरूमा रहेको सम्भावनाले प्रशिक्षकलाई उत्साहित बनाएको छ।

उपलब्ध स्रोतबाट अधिकतम उपयोग गर्दै खेलाडीको प्रविधि, समय र प्रदर्शन सुधार्ने प्रयास भइरहेको छ। तर, पदकको लक्ष्य राख्ने हो भने तयारीलाई अझ व्यवस्थित र दीर्घकालीन बनाउनुपर्ने आवश्यकता स्पष्ट छ।

नेपालको पारा खेलकुदले अझै लामो यात्रा तय गर्न बाँकी छ। एउटा पदकले मात्रै संरचनागत समस्या समाधान हुँदैन। खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन निरन्तर लगानी, पूर्वाधार र वैज्ञानिक प्रशिक्षण आवश्यक हुन्छ।

अहिले भने यी चार खेलाडी पानीमा आफ्नो भविष्य खोजिरहेका छन्।

सृजना पहिलो अन्तर्राष्ट्रिय यात्रामा आफ्नो क्षमता देखाउन चाहन्छिन्। जेनिशा विगतको अनुभवलाई सुधारिएको प्रदर्शनमा बदल्न चाहन्छिन्। हर्कमानको सपना ओलम्पिक र विश्व च्याम्पियनसिपसम्म पुग्ने छ। मेम्बर सिङ्गी दुर्घटनाले खोसेको खुट्टाको पीडालाई पदकको खुसीमा बदल्न चाहन्छन्।

उनीहरूलाई अहिले सबैभन्दा धेरै चाहिएको कुरा अवसर हो।

किनकि मेहनत गर्ने क्षमता उनीहरूसँग छ। सपना उनीहरूसँग छ। देशका लागि खेल्ने इच्छाशक्ति पनि छ।

अब प्रश्न उनीहरूले कति मेहनत गर्छन् भन्ने मात्र होइन। उनीहरूको मेहनतलाई राज्य र खेलकुद क्षेत्रले कति साथ दिन्छ भन्ने पनि हो।

तस्वीरहरू :

चार महिना पनि किन टिकेन प्रधानमन्त्रीको ‘प्रोटोकल’?

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले सोमबार भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गरे। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत झाङ माओमिङसँग भएका यी भेटवार्ताले प्रधानमन्त्री शाहले सरकार गठनका सुरुवाती दिनमा अपनाएको कूटनीतिक शैलीमा उल्लेख्य परिवर्तन आएको देखिन्छ।

प्रधानमन्त्री बनेलगत्तै शाहले विदेशी राजदूत तथा उच्च अधिकारीसँग सामूहिक भेटवार्तालाई प्राथमिकता दिएका थिए। त्यसबेला उनको सचिवालयले प्रधानमन्त्रीले विदेशी प्रतिनिधिसँग ‘एक्लाएक्लै नभेट्ने’ शैली अपनाएको प्रचार गरेको थियो। यसलाई उनको सचिवालयले नयाँ ‘प्रोटोकल’को रुपमा व्याख्या पनि गर्यो। 

तर, चार महिना नपुग्दै प्रधानमन्त्री आफैंले भारत र चीनका राजदूतसँग प्रत्यक्ष भेटवार्ता गरेपछि उनको पुरानो प्रोटोकल व्यवहारमै बदलिएको देखिएको छ। 

यसले केही प्रश्न जन्मिएका छन्- प्रधानमन्त्रीको त्यो प्रोटोकल राजनीतिक स्टन्ट थियो या राजनीतिक अपरिपक्वता? यदि यी दुवै कुरा होइनन् भने प्रधानमन्त्री शाह आफैले निर्माण गरेको प्रोटोकल चार महिना पनि किन टिकेन? कुटनितिक विवाद निम्तिने गरी र विदेशी नियोगका पदाधिकारीहरुलाई झस्काउने त्यो निर्णय प्रधानमन्त्री कार्यालयले किन गरेको थियो?  

यसअघि भारतीय विदेश सचिव विक्रम मिश्रीसँगको भेटसमेत शाहले अस्वीकार गरेको चर्चा भएको थियो। प्रधानमन्त्री तहका व्यक्तिसँग मात्र व्यक्तिगत भेट गर्ने अडानका कारण मिश्रीसँगको भेट हुन नसकेको बताइएको थियो। त्यसपछि नेपाल-भारत सम्बन्धमा चिसोपना आएको भन्दै राजनीतिक वृत्तमा विभिन्न टिप्पणीसमेत भएका थिए।

तर पछिल्लो समय प्रधानमन्त्रीको कूटनीतिक सक्रियता एकाएक बढेको छ। भारत र चीनसँगै अमेरिकी प्रतिनिधिसँग समेत प्रत्यक्ष संवादको वातावरण बन्दै गएको छ। यसलाई सरकारको बाह्य सम्बन्धलाई नयाँ गति दिने प्रयासका रूपमा हेरिएको छ।

भारतीय राजदूत श्रीवास्तवसँगको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट प्रधानमन्त्री शाहलाई शुभकामना सन्देशसमेत दिएका थिए।

त्यस्तै, चिनियाँ राजदूत माओमिङसँगको भेटमा नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने तथा विकास साझेदारीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ।

प्रधानमन्त्रीको पछिल्लो सक्रियतालाई भारत र चीन भ्रमणको सम्भावनासँग जोडेर पनि हेरिएको छ। यद्यपि परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत वा चीन भ्रमणको समयतालिका अहिलेसम्म टुंगो नलागेको जनाएको छ। भ्रमण भएमा त्यसका लागि एजेन्डा, सहमति र आवश्यक तयारी पूरा गर्न समय लाग्ने मन्त्रालयका अधिकारीहरूको भनाइ छ।

यी भेटवार्ताको अर्को चासोको विषय भनेको परराष्ट्रमन्त्री शिशिर खनालको अनुपस्थिति हो। विदेशी प्रतिनिधिसँगको उच्चस्तरीय भेटमा प्रधानमन्त्री स्वयं प्रत्यक्ष सहभागी हुँदा परराष्ट्र मन्त्रालयको संस्थागत भूमिकाबारे प्रश्न उठ्न थालेको छ। परराष्ट्र मन्त्रालयले भने यस्ता भेटवार्तालाई नियमित कूटनीतिक प्रक्रियाकै हिस्सा बताउँदै आएको छ।

प्रधानमन्त्रीको कूटनीतिक शैलीमा आएको परिवर्तनलाई रास्वपाभित्रको पछिल्लो राजनीतिक समीकरणसँग जोडेर समेत हेर्न थालिएको छ। पार्टी सभापति रवि लामिछानेले भारत भ्रमण गरी उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेपछि प्रधानमन्त्री शाह पनि छिमेकी मुलुकका प्रतिनिधिसँग प्रत्यक्ष संवादमा सक्रिय भएका छन्। लामिछानेको सम्भावित चीन भ्रमणको चर्चाबीच प्रधानमन्त्रीको पछिल्लो सक्रियताले राजनीतिक वृत्तमा थप चासो पैदा गरेको छ।

यसैबीच प्रधानमन्त्री शाह र लामिछानेबीच आइतबार बालुवाटारमा करिब ४५ मिनेट भेटवार्ता भएको बताइएको छ। सरकार सञ्चालन, नियुक्ति तथा पार्टीभित्रको शक्ति सन्तुलनलाई लिएर दुवै पक्षबीच असमझदारी बढिरहेको चर्चाका बीच भएको उक्त भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यसरी हेर्दा प्रधानमन्त्री शाहका लागि अहिले दुईवटा चुनौती एकसाथ देखिएका छन्-एकातिर पार्टीभित्रको शक्ति सन्तुलन व्यवस्थापन र अर्कोतिर भारत, चीन तथा अमेरिकासँग सरकारको सम्बन्धलाई थप प्रभावकारी बनाउने दबाब। 

विदेशी प्रतिनिधिसँग ‘एक्लै नभेट्ने’ अघिल्लो शैलीबाट पछि हट्दै प्रत्यक्ष संवादमा आउनुले प्रधानमन्त्रीले आफ्नो कूटनीतिक कार्यशैली पुनर्विचार गरेको संकेत भने स्पष्ट रूपमा दिएको छ।

के हो मानिसको आत्माको रहस्य?

काठमाडाैं। मानिसले आफूलाई चिन्न थालेदेखि नै एउटा प्रश्नले उसलाई पछ्याइरहेको छ-हाम्रो आत्मा कहाँबाट आयो?

हामी जन्मिनुअघि हाम्रो अस्तित्व कहाँ थियो? मृत्यु भएपछि हाम्रो चेतना वा आत्मा कहाँ जान्छ? के आत्मा शरीरभन्दा अलग कुनै अस्तित्व हो? यदि आत्मा वास्तवमै शरीरभन्दा अलग छ भने, त्यो कहाँबाट आउँछ?

यी प्रश्नको निश्चित वैज्ञानिक उत्तर आजसम्म प्राप्त भएको छैन। तर संसारका विभिन्न धर्म, दर्शन र संस्कृतिले हजारौँ वर्षदेखि यी प्रश्नको आफ्नै तरिकाले उत्तर खोज्दै आएका छन्। कतिपय परम्पराले आत्मालाई कुनै अदृश्य आध्यात्मिक संसारबाट आएको मान्छन् भने कतिपयले यसलाई ब्रह्माण्डीय चेतनाको अंशका रूपमा व्याख्या गर्छन्।

आत्मा र प्रकृतिको सम्बन्ध

मानव सभ्यताको प्रारम्भिक चरणमा मानिसले प्रकृतिमा भएका धेरै घटनालाई अदृश्य शक्तिसँग जोडेर बुझ्थ्यो। यसैबाट ‘एनिमिज्म’ अर्थात् प्रकृतिका वस्तुहरूमा पनि आत्मा वा चेतना हुन्छ भन्ने विश्वास विकसित भएको मानिन्छ।

प्राचीन मानिसका लागि पहाड, नदी, जंगल, जनावर, रुख तथा आकाश केवल निर्जीव वस्तु थिएनन्। तिनमा कुनै न कुनै आत्मिक शक्ति रहेको विश्वास गरिन्थ्यो।

वर्षा, हावा, चट्याङ, आँधी र बाढीजस्ता प्राकृतिक घटनालाई पनि अदृश्य शक्तिको गतिविधिका रूपमा व्याख्या गरिन्थ्यो। पृथ्वी हल्लिँदा कुनै पृथ्वी-आत्मा सक्रिय भएको, पानीको ठूलो बहाव आउँदा पानीसँग सम्बन्धित कुनै शक्ति जिम्मेवार भएको विश्वास गरिन्थ्यो।

यसरी हेर्दा आध्यात्मिक संसारको अवधारणा मानिसको सभ्यतासँगै विकसित भएको देखिन्छ।

श्वास र आत्माको सम्बन्ध

मृत्युबारे मानिसले गरेको प्रारम्भिक अवलोकन अझ रोचक थियो। मानिस जीवित हुँदा सास फेर्छ, तर मृत्यु भएपछि श्वास रोकिन्छ। त्यसैले धेरै पुराना संस्कृतिमा श्वासलाई जीवन र आत्मासँग जोडियो।

अब्राहमिक धर्महरू-यहूदी, इसाई र इस्लाम-मा पनि जीवन र श्वासबीचको सम्बन्ध महत्वपूर्ण छ।

बाइबलको जेनेसिसमा परमेश्वरले मानिसलाई माटोबाट बनाएर उसको नाकमा जीवनको श्वास फुकिदिएको र मानिस जीवित आत्मा बनेको वर्णन पाइन्छ। यसले एउटा प्राचीन अवधारणालाई देखाउँछ-शरीर भौतिक हुन सक्छ, तर जीवन दिने तत्व भौतिक शरीरभन्दा बाहिरको हुन सक्छ।

आत्मा आकाशबाट आउँछ?

प्राचीन मानिसले रातको आकाश हेर्दा त्यहाँ असंख्य तारा र ग्रह देख्थ्यो। तर ती वस्तुको वास्तविक प्रकृति उसलाई थाहा थिएन। त्यसैले आकाशलाई देवता र अदृश्य शक्तिहरूको संसारका रूपमा बुझ्ने परम्परा विकसित भयो।

प्राचीन ग्रीक दर्शनमा समेत आत्मा र ताराबीच सम्बन्ध जोडिएको पाइन्छ। प्लेटोका केही दार्शनिक विचारलाई आधार मान्दा आत्मा तारासँग सम्बन्धित कुनै उच्च संसारबाट आएको र मृत्यु भएपछि पुनः त्यही दिशातर्फ फर्किने अवधारणा देखिन्छ।

यसले एउटा रोचक प्रश्न जन्माउँछ-यदि शरीर पृथ्वीबाट बनेको हो भने चेतना कहाँबाट आयो?

आज विज्ञानले हामीलाई ताराहरू, ग्रहहरू र ब्रह्माण्डबारे प्राचीन मानिसको कल्पनाभन्दा निकै बढी जानकारी दिएको छ। मानिस अन्तरिक्षमा पुगिसकेको छ। पृथ्वीको वायुमण्डलभन्दा बाहिर गएर पनि उसले कुनै परम्परागत अर्थको ‘स्वर्ग’ भेटेको छैन।

तर आध्यात्मिक विश्वास गर्नेहरूका लागि यसको अर्थ स्वर्ग छैन भन्ने हुँदैन। उनीहरू स्वर्ग वा आध्यात्मिक संसार भौतिक स्थान नभएर अर्को आयाममा रहेको हुन सक्ने तर्क गर्छन्।

अर्को आयामको सम्भावना

यहीँबाट ‘आध्यात्मिक आयाम’को अवधारणा अगाडि आउँछ।

के आत्मिक संसार पृथ्वीभन्दा माथि कतै रहेको ठाउँ होइन, बरु यही ब्रह्माण्डमा तर हाम्रो इन्द्रियले अनुभव गर्न नसक्ने अर्को आयाम हो?

अलौकिक घटना, भूतप्रेत, आत्माको उपस्थिति वा मृत्यु नजिकका अनुभवलाई व्याख्या गर्ने क्रममा कतिपय मानिसले यस्तै अवधारणा प्रस्तुत गर्छन्।

तर यहाँ विज्ञान र विश्वासबीच स्पष्ट सीमा छ। मानिसले विभिन्न किसिमका व्यक्तिगत तथा सांस्कृतिक अनुभवहरू वर्णन गरे पनि आत्मा वा आध्यात्मिक संसारको अस्तित्वलाई वैज्ञानिक रूपमा प्रमाणित गर्ने पुनरुत्पाद्य प्रमाण अहिलेसम्म स्थापित भएको छैन।

यसको अर्थ मानिसका सबै अनुभव झुटा हुन् भन्ने पनि होइन। यसको अर्थ केवल यति हो-अनुभव हुनु र वैज्ञानिक रूपमा प्रमाणित हुनु एउटै कुरा होइन।

यहूदी परम्पराको ‘गुफ’

आत्माको उत्पत्तिसम्बन्धी सबैभन्दा रहस्यमय अवधारणामध्ये एउटा यहूदी धार्मिक परम्परामा पाइने ‘गुफ’ हो।

‘गुफ’ शब्दको अर्थ हिब्रू भाषामा ‘शरीर’ भन्ने हुन्छ। केही ताल्मुदिक परम्परामा यसलाई जन्मिन बाँकी आत्माहरूको भण्डार वा निवाससँग जोडिएको छ।

यस अवधारणाअनुसार मानिसको आत्मा पृथ्वीमा जन्मिनुअघि कुनै आध्यात्मिक अवस्थामै रहेको हुन्छ। त्यसपछि उपयुक्त समयमा आत्मा मानव शरीरमा आउने मान्यता पाइन्छ।

यहूदी परम्पराका केही व्याख्यामा संसारमा जन्मिन बाँकी आत्माहरू ‘गुफ’मा रहेको र सबै आत्माहरू जन्मिएपछि मात्र मसीहको आगमन हुने विश्वाससँग यो अवधारणा जोडिन्छ।

यहाँ एउटा अत्यन्त रोचक विचार देखिन्छ-हामी जन्मिएपछि मात्र अस्तित्वमा आएका होइनौँ; हाम्रो आत्माको अस्तित्व जन्मअघि नै हुन सक्छ।

तर यो कुरा बुझ्दा एउटा महत्वपूर्ण तथ्य छुटाउन हुँदैन। ‘गुफ’को अवधारणा हिब्रू बाइबलमा प्रत्यक्ष रूपमा उल्लेखित सिद्धान्त होइन। यो मुख्यतः पछि विकसित भएको यहूदी ताल्मुदिक र कब्बालिस्टिक परम्परासँग सम्बन्धित अवधारणा हो।

कब्बालामा आत्माको रहस्य

यहूदी रहस्यवादी परम्परा कब्बालामा आत्माको विषय अझ गहिरो रूपमा प्रस्तुत हुन्छ।

कब्बालिस्टिक ग्रन्थहरूमा आत्मा, ईश्वर, ब्रह्माण्ड र मानव अस्तित्वबीचको सम्बन्धलाई रहस्यमय भाषामा व्याख्या गरिएको छ। केही परम्परागत व्याख्याअनुसार जन्मिन बाँकी आत्माहरूलाई ईश्वरको महिमासँग सम्बन्धित कुनै आध्यात्मिक अवस्थाबाट उत्पन्न भएको मानिन्छ।

यस दृष्टिकोणबाट हेर्दा मानव शरीर पृथ्वीमा अस्थायी आवासजस्तो देखिन्छ भने आत्मा त्यसमा प्रवेश गर्ने यात्रुजस्तो।

यस्तो अवधारणा संसारका अन्य धार्मिक परम्परामा पनि फरक–फरक रूपमा देखिन्छ।

हिन्दू दर्शनसँग तुलना

हिन्दू दर्शनमा आत्मा र पुनर्जन्मको अवधारणा अत्यन्त महत्वपूर्ण छ। आत्मालाई शरीरभन्दा अलग र नाशरहित तत्वका रूपमा हेर्ने परम्परा छ। शरीर परिवर्तनशील हुन्छ, तर आत्माको यात्रा निरन्तर रहने विश्वास गरिन्छ।

यसमा ‘हामी को हौँ?’ भन्ने प्रश्नको उत्तर शरीरभन्दा गहिरो तहमा खोजिन्छ।

यद्यपि कब्बालाको ‘गुफ’ र हिन्दू दर्शनको आत्मा एउटै अवधारणा होइनन्। दुवै परम्पराले जन्मअघि र मृत्युपछिको अस्तित्वबारे प्रश्न उठाए पनि तिनका धार्मिक तथा दार्शनिक आधार फरक छन्।

विज्ञानले के भन्छ?

आधुनिक विज्ञानले मानिसको चेतनालाई मस्तिष्कसँग गहिरो रूपमा सम्बन्धित देखाएको छ। स्मृति, भावना, निर्णय, व्यक्तित्व र चेतनासँग सम्बन्धित धेरै प्रक्रिया मस्तिष्कका गतिविधिसँग जोडिएका छन्।

तर चेतना वास्तवमा के हो भन्ने प्रश्न अझै पूर्ण रूपमा समाधान भएको छैन।

हामी मस्तिष्कका धेरै प्रक्रिया बुझ्न सक्छौँ, तर ‘म आफैँ भएको अनुभव’ कहाँबाट आउँछ भन्ने प्रश्न अझै दर्शन र विज्ञान दुवैका लागि चुनौतीपूर्ण छ।

यही खाली ठाउँमा आत्मा, चेतना र आध्यात्मिक ब्रह्माण्डसम्बन्धी बहसहरू जन्मिन्छन्।

के हाम्रो आत्मा कुनै आध्यात्मिक ब्रह्माण्डबाट आएको हो?

यसको निश्चित उत्तर अहिले हामीसँग छैन।

धर्मले विश्वासका आधारमा उत्तर दिन्छ। दर्शनले तर्कका आधारमा प्रश्न गर्छ। विज्ञानले प्रमाण खोज्छ।

सायद यही कारण आत्माको प्रश्न हजारौँ वर्षदेखि जीवित छ।

हामी ताराहरूबाट बनेका पदार्थबाट बनेका हौँ भन्ने वैज्ञानिक तथ्य रोचक छ। हाम्रो शरीरमा रहेका धेरै तत्व कुनै समय ताराहरूभित्र बनेका थिए। तर त्यसबाट हाम्रो चेतना पनि कुनै आध्यात्मिक ब्रह्माण्डबाट आएको प्रमाणित हुँदैन।

त्यसैले अहिलेको सबैभन्दा इमानदार निष्कर्ष यही हुन सक्छ-आत्माको उत्पत्ति मानव ज्ञानको सबैभन्दा पुरानो र अझै अनसुल्झिएको रहस्य हो।

‘गुफ’को कथा होस्, प्लेटोको तारासम्बन्धी दर्शन होस्, हिन्दू दर्शनको आत्मा होस् वा आधुनिक विज्ञानको चेतनासम्बन्धी खोज-यी सबैले एउटै गहिरो प्रश्नतर्फ संकेत गर्छन्:

हामी केवल शरीर हौँ, कि शरीरभित्र कुनै यस्तो अस्तित्व पनि छ जसको यात्रा हाम्रो जन्मभन्दा धेरै अगाडिदेखि सुरु भएको थियो?

सायद यसको उत्तर हामीले अहिलेसम्म भेटेका छैनौँ।

र सम्भवतः यही अनिश्चितताले मानिसलाई हजारौँ वर्षदेखि आकाशतर्फ हेर्न, मृत्युबारे सोच्न र आफूभित्रको ‘म’लाई खोजिरहन प्रेरित गरिरहेको छ।

बाँदर-बँदेलको आतंक नियन्त्रणबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति गम्भीर बन्दै गएपछि प्रतिनिधि सभामा यस समस्याको दीर्घकालीन समाधानका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन मागसहित जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

प्रस्तावक नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङ हुन् भने समर्थकहरु नेकपा एमालेकी सचेतक निता घतानी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कि सांसद पार्वती विक र श्रम संस्कृति पार्टीका सांसद आरेन राई छन् ।

सोमबार दर्ता भएको प्रस्तावमा किसानको उत्पादन, आम्दानी, खाद्य सुरक्षा र ग्रामीण जीविकोपार्जनमै असर पारिरहेको भन्दै बाँदर र बँदेलको समस्या अब मानव-वन्यजन्तु द्वन्द्वमा मात्र सीमित नरहेको प्रस्तावमा उल्लेख गरिएको छ।

प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमार्फत सरकारले बाँदर तथा जंगली बँदेल व्यवस्थापनका लागि समयसीमा, बजेट र संघ, प्रदेश तथा स्थानीय तहको जिम्मेवारी स्पष्ट हुने गरी राष्ट्रिय कार्ययोजना बनाउन माग गरिएको प्रस्तावक केरुङले बताए ।

उनका अनुसार प्रस्तावमा नेपालको संविधानको धारा ३६ ले प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक र खाद्य सम्प्रभुताको हक सुनिश्चित गरेको तथा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ ले राज्यलाई नागरिकको खाद्य सुरक्षा सुनिश्चित गर्ने दायित्व दिएको स्मरण गराइएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोष र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय प्राणीशास्त्र विभागको प्राविधिक सहयोगमा प्रकाशित अध्ययनले बाँदरबाट भइरहेको क्षतिको भयावह अवस्था देखाएको प्रस्तावमा उल्लेख छ।

‘अत्यधिक प्रभावित ४४ स्थानीय तहमा २० हजार ३९५ वटा रातो बाँदर प्रत्यक्ष गणना गरिएको छ भने मध्यपहाडी क्षेत्रमा न्यूनतम १ लाख ४ हजार १३७ बाँदर रहेको अनुमान गरिएको छ,’ प्रस्तावमा छ, ‘एउटा समूहमा १९८ वटासम्म बाँदर भेटिएका छन् र औसत समूहको आकार ४२।६६ रहेको छ ।

अध्ययनअनुसार बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा बाँदर, बँदेल र दुम्सीबाट हुने द्वन्द्व विशेष गम्भीर देखिएको  र कोशीमा बाँदर र हात्ती तथा लुम्बिनी र मधेश प्रदेशका जिल्लामा बाँदर र नीलगाइका कारण किसानले समस्या भोगिरहेको प्रस्तावमा छ ।

बाँदरकै आतंकका कारण पहाडी भूमि बाँझो हुँदै गएको र बसाइँसराइको प्रमुख कारणमध्ये यो समस्या पनि बन्न थालेको केरुङले बताए ।

कृषि उत्पादनमा परेको आर्थिक क्षति झनै ठूलो रहेको र सर्वेक्षणमा सहभागी १ हजार ८४६ घरधुरीमा बाँदरबाट मात्रै वार्षिक करिब ५ करोड रुपैयाँ बराबरको बाली क्षति भएको अध्ययनले देखाएको प्रस्तावमा भनिएको छ ।

मकैमा प्रतिघरधुरी औसत ३१२ किलो अर्थात् उत्पादनको ५०।३ प्रतिशत क्षति भएको र सर्वेक्षित परिवारको मकैमा मात्रै करिब २ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको र धान, गहुँ, कोदो, आलु, तोरी, सुन्तला र अलैंचीमा समेत १८ देखि ५२ प्रतिशतसम्म क्षति भएको प्रस्तावमा उल्लेख छ।

प्रस्तावक केरुङका अनुसार प्रदेशगत अवस्था झनै चिन्ताजनक छ। गण्डकीमा मकैको सापेक्ष क्षति ९० प्रतिशत, कर्णालीमा ८८ प्रतिशत तथा सुदूरपश्चिममा धानको ८५ प्रतिशत र गहुँको ९० प्रतिशतसम्म क्षति पुगेको छ ।

किसानहरू पाक्न लागेको बाली जोगाउन बिहानदेखि साँझसम्म खेतबारीमा कटेरो बनाएर बस्नुपर्ने अवस्थामा पुगेका छन्। एकैपटक करिब सयको समूहमा बाँदर खेतबारीमा पस्ने गरेको र कुकुर, रेडियो तथा आवाज निकाल्ने जस्ता परम्परागत उपायसमेत प्रभावहीन बन्दै गएको प्रस्तावमा उल्लेख गरिएको छ।

प्रस्तावमा भनिएको छ, ‘बाँदरकै आतंकका कारण पहाडी भूमि बाझोमा परिणत हुँदै बसाइसराइको प्रमुख कारण बनेको छ । स्वरोजगारी, उद्यम, उत्पादन र उत्पादकत्वमा नै असर पारी ग्रामीण र शहरको अर्थतन्त्रलाइ नै फराकिलो जोखिम तर्फ धकेलेको छ ।’

संसदमा छलफल गर्नुपर्ने पाँच कारण

प्रस्तावमा बाँदर तथा जंगली बँदेलको समस्या प्रतिनिधि सभामा छलफल गर्नुपर्ने पाँचवटा कारणसमेत उल्लेख गरिएको छ।

१. बाँदर तथा जंगली बँदेलबाट हुने बाली क्षति व्यापक भई किसानको उत्पादन, आय, खाद्य सुरक्षा तथा ग्रामीण जीविकोपार्जनमा गम्भीर असर परेको र कतिपय स्थानमा खेती छाड्ने तथा बसाइँ सर्ने अवस्था सिर्जना भएको ।

२. वैज्ञानिक अध्ययनमा सर्वेक्षण गरिएका १ हजार ८४६ घरधुरीमध्ये ९८ प्रतिशतले बाँदरलाई प्रमुख समस्याका रूपमा उल्लेख गरेको र बाँदरबाट मात्रै ती घरधुरीमा वार्षिक करिब ५ करोड रुपैयाँ बराबरको क्षति देखिएको अवस्थामा समस्या राष्ट्रिय कृषि तथा खाद्य सुरक्षासँग प्रत्यक्ष जोडिएको ।

३. प्रतिनिधि सभामा २०८१ फागुनमै यस विषयमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल भइसके पनि किसानले बाली जोगाउन दिनरात खेतबारीमा बस्नुपर्ने अवस्था अझै कायम रहेको ।

४. बाँदर र बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको भए पनि उच्च जोखिम क्षेत्रको पहिचान, वैज्ञानिक बाँदर संख्या व्यवस्थापन, स्थानीय प्रतिकार्य संयन्त्र, खेतबारी संरक्षण तथा राहतको प्रभावकारी प्रणाली पर्याप्त रूपमा कार्यान्वयन हुन नसकेको ।

५. सरकारसँग पछिल्लो वैज्ञानिक अध्ययन, प्राविधिक कार्यदल, स्थानीय तहका अनुभव तथा विगतको संसदीय छलफलसहित पर्याप्त आधार उपलब्ध भइसकेकाले अब अध्ययन र घोषणा मात्र नभई किसानले प्रत्यक्ष अनुभूति गर्ने समयसीमाबद्ध राष्ट्रिय कार्ययोजना आवश्यक भएको ।

डेढ वर्षपछि पनि उस्तै समस्या

प्रतिनिधि सभामा  १२ फागुन २०८१ मा बाँदर र बँदेलबाट किसानले भोगिरहेको समस्या तथा दीर्घकालीन समाधानसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल भएको थियो।

त्यस क्रममा वन्यजन्तु नियन्त्रण, बाली सुरक्षा, स्थानीय सरकार र वन निकायबीच समन्वय तथा किसानलाई व्यावहारिक संरक्षण दिनुपर्ने विषय उठेको थियो।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले समेत विभिन्न अध्ययन प्रतिवेदनमाथि सरकार र सरोकारवाला विज्ञसँग छलफल गरी आवश्यक बजेट विनियोजन गर्न तथा तत्कालीन र दीर्घकालीन उपाय खोज्न सरकारलाई निर्देशन दिएको थियो।

तर डेढ वर्षपछि पनि किसानले बारीमै बसेर बाली रुँग्नुपर्ने अवस्था कायम रहेको प्रस्तावमा उल्लेख छ।

यसबीच सरकारले जंगली रातो बाँदरलाई गत वर्षको १९ माघ र जंगली बँदेललाई गत वर्षकै १२ फागुनमा पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ। तोकिएका सर्तअनुसार निजी खेतबारीमा क्षति पुर्‍याउने रातो बाँदरलाई धपाउन, लखेट्न वा पक्रन तथा जंगली बँदेललाई धपाउन, लखेट्न, पक्रन वा नियन्त्रण गर्न सकिने व्यवस्था छ।

तर कानुनी घोषणा मात्रले किसानले भोगिरहेको दैनिक समस्या समाधान गर्न नसकेको प्रस्तावमा उल्लेख छ।

वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० ले बाली क्षतिको मूल्याङ्कनका आधारमा बढीमा १० हजार रुपैयाँसम्म राहत दिने व्यवस्था गरेको छ।

कतिपय बालीमा उत्पादनको आधाभन्दा बढी क्षति भइरहेको अवस्थामा विद्यमान राहत रकम, क्षति मूल्याङ्कन र राहत प्राप्त गर्ने प्रक्रियालाई वास्तविक नोक्सानीअनुकूल पुनरावलोकन गर्नुपर्ने माग गरिएको छ।

सरकारले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक कार्यदल गठन गरी बाँदर, बँदेल, नीलगाई र दुम्सीबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका उपायबारे सुझाव संकलनसमेत गरेको प्रस्तावमा उल्लेख छ।

वैज्ञानिक अध्ययन, संसदीय छलफल, स्थानीय तहका अनुभव र सरकारी कार्यदलबाट पर्याप्त आधार तयार भइसकेकाले अब समस्या पुनः अध्ययनमा सीमित नराखी कार्यान्वयनयोग्य राष्ट्रिय नीति आवश्यक रहेको प्रस्तावमा जोड दिइएको छ।

प्रस्तावमा छ, ‘वैज्ञानिक अध्ययन, संसदीय छलफल, स्थानीय तहका अनुभव र सरकारी कार्यदलबाट पर्याप्त आधार तयार भइसकेकाले अब समस्या पुनः अध्ययनमा सीमित राख्नेभन्दा समयसीमासहितको कार्यान्वयनयोग्य राष्ट्रिय नीति आवश्यक भएको छ ।’

आठ बुँदे कार्ययोजनाको माग

प्रस्तावमा सरकारसँग तत्काल आठवटा काम अघि बढाउन माग गरिएको छ।

पहिलो, उपलब्ध वैज्ञानिक अध्ययन र सरकारी कार्यदलका सुझावका आधारमा ३० दिनभित्र समयसीमा, बजेट तथा तीन तहका सरकारको जिम्मेवारीसहित एकीकृत राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्न माग गरिएको छ।

दोस्रो, बाली क्षति, किसानको उजुरी, वन्यजन्तुको संख्या र आवागमनका आधारमा अत्यधिक प्रभावित पालिका तथा वडाको राष्ट्रिय द्वन्द्व नक्साङ्कन गरी उच्च जोखिम क्षेत्रमा लक्षित कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ।

तेस्रो, प्रभावित किसानलाई अनुदानमा प्रभावकारी घेराबार, सुरक्षित अवरोध, सामुदायिक निगरानी, पूर्वसूचना प्रणाली तथा प्रमाणित गैरघातक नियन्त्रण प्रविधि उपलब्ध गराउन माग गरिएको छ। अत्यधिक प्रभावित स्थानीय तहमा आधुनिक उपकरण र प्रशिक्षित जनशक्तिसहित द्रुत प्रतिकार्य टोली स्थापना गर्नुपर्ने प्रस्तावमा उल्लेख छ।

चौथो, उच्च द्वन्द्व भएका क्षेत्रमा वैज्ञानिक अध्ययन र निरन्तर अनुगमनसहित लक्षित बाँझोपन तथा अन्य उपयुक्त जनसंख्या व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ। जंगली बँदेलका हकमा नियमित संख्या अध्ययन गरी अत्यधिक प्रभावित क्षेत्रमा कानुनी र वैज्ञानिक मापदण्डअनुसार नियन्त्रण कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रस्तावमा उल्लेख छ।

पाँचौँ, बाली क्षतिको राहत वास्तविक उत्पादन लागत, क्षेत्रफल, क्षतिको मात्रा र स्थानीय बजार मूल्यका आधारमा पुनरावलोकन गर्न माग गरिएको छ। राहत आवेदन, क्षति प्रमाणीकरण र भुक्तानी प्रक्रिया सरल बनाई स्थानीय तहबाटै छिटो सेवा उपलब्ध गराउनुपर्ने माग छ।

छैटौँ, अत्यधिक प्रभावित क्षेत्रमा वन्यजन्तुले कम क्षति गर्ने वैकल्पिक उच्च मूल्यका बालीका लागि बीउ, प्राविधिक सहयोग, अनुदान र बजार सुनिश्चित गर्न तथा वनभित्र प्राकृतिक आहारा, पानी र वासस्थान सुधार गर्न माग गरिएको छ।

सातौँ, किसान, सामुदायिक वन, वन कार्यालय र स्थानीय सरकारको संयुक्त संयन्त्र गठन गरी उच्च जोखिम भएका स्थानीय तहमा तत्काल राहत र प्रतिकार्यका लागि छुट्टै द्रुत कोष स्थापना गर्न माग गरिएको छ।

आठौँ, सरकारले २०८१ फागुनको संसदीय छलफलपछि गरेका निर्णय, अध्ययन, खर्च, कार्यक्रम र उपलब्धिको एकीकृत विवरण सदनमा प्रस्तुत गर्नुपर्ने तथा राष्ट्रिय कार्ययोजनाको प्रगति प्रत्येक तीन महिनामा सम्बन्धित संसदीय समितिमा पेस गर्नुपर्ने माग गरिएको छ।

प्रस्तावमा मानव-वन्यजन्तु द्वन्द्वलाई कुनै गाउँ, स्थानीय तह वा सत्ता पक्ष-प्रतिपक्षको मात्र समस्या नभई राष्ट्रिय सामाजिक, आर्थिक र राजनीतिक समस्याका रूपमा सम्बोधन गर्नुपर्ने उल्लेख गरिएको छ।

प्रस्तावमा कृषि, वन तथा पर्यावरण मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू-संरक्षण विभागलाई सम्बन्धित निकायका रूपमा तोकिएको छ।

ओखलढुंगाका जीर्ण झोलुङ्गे पुल मर्मत गर्न खतिवडाको ध्यानाकर्षण

काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समितिका पूर्वसभापति रामहरि खतिवडाले जिल्लाका जीर्ण तथा निर्माणाधीन झोलुङ्गे पुलको अवस्थाबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

खतिवडाले सुनकोशी गाउँपालिका-२, बालखु पञ्चकन्यामा जीर्ण अवस्थामा रहेको झोलुङ्गे पुल तथा सिद्धिचरण नगरपालिका क्षेत्रमा निर्माणाधीन पर्यटकीय झोलुङ्गे पुलको अवस्थाबारे सस्पेन्सन ब्रिज डिभिजनका प्रमुख शंकर बुढाथोकीलाई जानकारी गराउँदै आवश्यक पहल गर्न आग्रह गरेका हुन्।

केही दिनअघि ओखलढुंगाका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा खतिवडाले दुवै पुलको स्थलगत निरीक्षण गरेका थिए।

निरीक्षणका क्रममा उनले पुलको अवस्था, निर्माणको प्रगति तथा स्थानीयवासीले भोग्नुपरेका समस्याबारे जानकारी लिएका थिए।

स्थानीयवासीको आवतजावतमा महत्वपूर्ण भूमिका खेल्दै आएको बालखु पञ्चकन्याको जीर्ण झोलुङ्गे पुलको तत्काल मर्मत गर्नुपर्नेमा खतिवडाले जोड दिएका छन्।

त्यस्तै, सिद्धिचरण नगरपालिका क्षेत्रमा निर्माणाधीन पर्यटकीय झोलुङ्गे पुलको कामलाई पनि प्रभावकारी रूपमा अघि बढाउन उनले आग्रह गरेका छन्।

पुलको अवस्थाका कारण स्थानीयवासीले भोग्नुपरेका कठिनाइलाई सम्बन्धित निकायसम्म पुर्‍याउँदै आवश्यक प्राविधिक तथा प्रशासनिक पहल गर्न खतिवडाले सस्पेन्सन ब्रिज डिभिजनका प्रमुख बुढाथोकीसँग आग्रह गरेका छन्।

उनले जिल्लाका ग्रामीण तथा पर्यटकीय क्षेत्रमा रहेका झोलुङ्गे पुलको नियमित निरीक्षण, मर्मतसम्भार तथा निर्माण कार्यलाई सम्बन्धित निकायले प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहसँग चिनियाँ राजदूत झाङ माओमिङको भेट, के भयो कुराकानी?

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन्। राजदूत माओमिङले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेर प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन्।

भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, दुई देशबीच विभिन्न क्षेत्रमा हुँदै आएको सहकार्यलाई विस्तार गर्ने तथा विकास साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ।

प्रधानमन्त्री शाहले नेपाल र चीनबीच लामो समयदेखि कायम रहेको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिएका थिए। उनले दुई देशबीच आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्दै विकास र समृद्धिका साझा लक्ष्य हासिल गर्न मिलेर अघि बढ्नुपर्ने धारणा राखेका थिए।

नेपालले चीनसँगको सम्बन्धलाई सदैव उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले विकास, पूर्वाधार, प्रविधि, पर्यटन, व्यापार तथा लगानीलगायतका क्षेत्रमा सहकार्यका सम्भावनालाई थप फराकिलो बनाउनुपर्नेमा जोड दिएका थिए।

भेटमा नेपाल र चीनबीच पारस्परिक हितका विषयमा सहकार्यलाई निरन्तरता दिने तथा आगामी दिनमा सम्बन्धलाई थप मजबुत बनाउने विषयमा समेत छलफल भएको बताइएको छ। दुई देशबीचको विकास साझेदारीलाई प्रभावकारी ढंगले अघि बढाउन आवश्यक समन्वय र सहकार्यका विषयमा पनि कुराकानी भएको जनाइएको छ।

सो अवसरमा चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गरेका थिए। उनले नेपाल र चीनबीचको आपसी सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउन चीन प्रतिबद्ध रहेको बताएका थिए।

राजदूत माओमिङले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा समेत पारस्परिक लाभ र साझा हितका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।

नेपाल र चीनबीच राजनीतिक, आर्थिक, सामाजिक तथा विकासका विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ। पछिल्लो भेटवार्तालाई दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा विकास साझेदारीलाई नयाँ गति दिने प्रयासका रूपमा हेरिएको छ।

प्रधानमन्त्री शाह र राजदूत माओमिङबीच भएको भेटवार्ताले नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउँदै आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।

‘राजनीतिबाट संन्यास लिन्छु’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफूविरुद्ध सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट भ्रमपूर्ण प्रचार भइरहेको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले आफू संसद्मा आफैँलाई ‘अग्निपरीक्षा’ दिन उभिएको बताएका हुन्।

शाहीले आफूले मदिरा सेवन गरेको तथा अश्लील भिडियोसँग जोडेर विभिन्न आरोप लगाइएको भन्दै ती आरोप प्रमाणित गर्न चुनौती दिए। उनले आफूविरुद्ध लगाइएका आरोपको सत्यता जाँच गर्न संसद्मै आफ्नो स्वास्थ्य परीक्षण गर्नुपर्ने मागसमेत गरे।

प्रतिनिधिसभा बैठकमा उनले नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको प्रसङ्ग उल्लेख गर्दै गलत र भ्रामक सूचनाले व्यक्तिको जीवनमा गम्भीर असर पार्न सक्ने बताए।

‘नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले गलत र भ्रामक सूचनाका कारण पीडादायी घाँटी रेटिएर आत्महत्या गरेको इतिहास नेपाली राजनीतिमा जीवितै छ। आज त्यस्तै अवस्था ममाथि आइपरेको छ,’ उनले भने।

आफूविरुद्ध सामाजिक सञ्जालमा विभिन्न किसिमका आरोप लगाइएको उल्लेख गर्दै शाहीले ‘खाइ न पाइ छालाको टोपी लाई’ भन्ने उखान चरितार्थ भएको बताए। आफूले रक्सी सेवन गरेर जथाभावी बोलेको तथा अश्लील भिडियो सार्वजनिक भएको भन्दै आरोप लगाइएको उनको भनाइ थियो।

‘आज ममाथि रक्सी खाएर जे मन लाग्यो त्यही बोल्यो, अश्लील भिडियोहरू आए भन्ने आरोप लगाइएका छन्,’ उनले भने।

आफूमाथि लगाइएका आरोप प्रमाणित गर्न चुनौती दिँदै शाहीले संसद्मै आफ्नो स्वास्थ्य परीक्षण गर्न माग गरे। उनले संसद्मा स्वास्थ्य विभाग तथा स्वास्थ्यकर्मीको टोली रहेको उल्लेख गर्दै चिकित्सकको टोलीमार्फत आफ्नो शरीरको विस्तृत परीक्षण गर्न आग्रह गरे।

‘यही संसद्मा स्वास्थ्य विभाग छ, स्वास्थ्यकर्मीसहितको टोली छ र टोली राखियोस्। चिकित्सकको टोलीबाट मेरो शरीरको प्रत्येक अंग जाँच गरियोस्। मेरो रगतदेखि छालासम्म परीक्षण गरियोस्,’ उनले भने।

उनले जन्मेदेखि अहिलेसम्म आफूले मदिरा सेवन गरेको प्रमाणित भए सांसद पदबाट राजीनामा दिने घोषणा पनि गरे।

‘जन्मदेखि अहिलेसम्म मदिराको एक थोपा मात्रै मेरो शरीरमा कतै प्रयोग भएको र कतै देखियो भने म सांसद पदबाट राजीनामा दिन तयार छु। म राजीनामा दिन तयार छु,’ उनले भने।

शाहीले आफूविरुद्ध अश्लील भिडियोसँग जोडेर भइरहेको प्रचारप्रति पनि गम्भीर आपत्ति जनाए। सामाजिक सञ्जालमा भेटिएका अन्य व्यक्तिका भिडियो आफूलाई जोडेर प्रचार गरिएको उनको आरोप थियो।

‘सामाजिक सञ्जालमा कतै भेटिएको कुनै अमुक अर्कै व्यक्तिको अश्लील भिडियो, यौन अश्लील भिडियो ल्याएर यो ज्ञानेन्द्र शाही हो भन्दै प्रचार गरिएको छ,’ उनले भने।

यदि उक्त भिडियो आफू नै भएको प्रमाणित भए राजनीतिक जीवनबाटै सन्यास लिने उनले घोषणा गरे। उनले भिडियोको सत्यता परीक्षण गर्न सम्बन्धित निकायलाई चुनौतीसमेत दिए।

‘उक्त भिडियो यदि मेरो हो भने जाँच गरियोस्, म राजनीतिक जीवनबाट सन्यास लिन्छु,’ शाहीले भने।

आफूविरुद्ध भ्रमपूर्ण सूचना फैलाउने व्यक्तिहरूको समेत स्वास्थ्य परीक्षण गर्नुपर्ने माग उनले गरे। आफूलाई बदनाम गर्ने उद्देश्यले गलत सूचना तथा सामग्री फैलाइएको भन्दै उनले त्यसको स्रोत र सत्यताबारे छानबिन हुनुपर्ने बताए।

शाहीले सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने उद्देश्यले गलत सूचना फैलाउनेहरूमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्। विशेषगरी गृहमन्त्रीसँग आफूविरुद्ध भ्रम फैलाउने व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्न उनले आग्रह गरे।

उनले राजनीतिक व्यक्तिको चरित्रमाथि गम्भीर आरोप लगाउँदा त्यसको प्रमाण र तथ्य प्रस्तुत गर्नुपर्ने भन्दै प्रमाणबिनाका आरोपले व्यक्तिको मात्र नभई समग्र राजनीतिक वातावरणमा समेत नकारात्मक असर पार्ने बताए।

शाहीले आफूले संसद्को रोस्टमबाटै आरोपको सामना गर्न तयार रहेको उल्लेख गर्दै सत्य र तथ्यका आधारमा आफ्नो विषय टुंग्याउन आग्रह गरे। उनले आफूविरुद्ध फैलाइएका सामग्रीको निष्पक्ष परीक्षण र अनुसन्धान भए आफू जुनसुकै परिणाम स्वीकार गर्न तयार रहेको पनि बताएका छन्।

 

दुई दिनमै नेप्से २३ अंकले ओरालो

काठमाडौं। सेयर बजारमा लगातार दोस्रो कारोबार दिन गिरावट आएको छ। सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.०४ अंकले घटेर २६४१.०५ बिन्दुमा बन्द भएको छ।

गत साताको शुक्रबार पनि नेप्से १३.८२ अंकले घटेको थियो। सोमबारको गिरावटसँगै बजारले पछिल्ला दुई कारोबार दिनमा कुल २२.८६ अंक गुमाएको छ।

कारोबार रकम भने सामान्य बढेको छ। सोमबार ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। शुक्रबार ३ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको थियो।

सोमबार कारोबारमा आएका कम्पनीमध्ये ८२ वटाको सेयर मूल्य बढेको छ भने १८० कम्पनीको मूल्य घटेको छ। १४ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।

यसले समग्र बजारमा बिक्री चाप बढेको देखाएको छ। कारोबार रकममा सामान्य वृद्धि भए पनि बढ्नेभन्दा घट्ने कम्पनीको संख्या दोब्बरभन्दा बढी रहेकाले बजारको समग्र धार कमजोर देखिएको छ।

करदाता सम्मानदेखि ठूलो लगानीसम्म, बहुराष्ट्रिय कम्पनीलाई सरकारको साथ

काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा इमानदारीपूर्वक कर तिर्ने बहुराष्ट्रिय कम्पनी तथा निजी क्षेत्रलाई सरकारले सम्मान गर्ने बताएका छन्।

उनले करदातालाई केवल राजस्वको स्रोतका रूपमा नभई राष्ट्र निर्माणको साझेदारका रूपमा व्यवहार गरिने बताए।

अर्थ मन्त्रालयमा नेपालमा सक्रिय बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँगको छलफलमा वाग्लेले लगानीकर्ता सुरक्षित, करदाता सम्मानित र युवा उद्यम गर्न प्रेरित हुने वातावरण निर्माण सरकारको प्राथमिकता रहेको बताए।

उनका अनुसार सरकारको लक्ष्य केवल कर संकलन बढाउनु नभई उत्पादन, लगानी, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउनु हो। उद्योगले नाफा कमाएपछि पुनःलगानी हुने, उत्पादन र रोजगारी बढ्ने तथा आम्दानी विस्तार हुँदै अन्ततः राज्यको राजस्वसमेत बढ्ने उनको तर्क थियो।

वाग्लेले सरकार निजी क्षेत्रलाई शंकाको दृष्टिले नभई साझेदारका रूपमा हेर्ने बताए। नेपालको आर्थिक रूपान्तरण कुनै एक मन्त्रालय वा सरकारी निकायको प्रयासबाट मात्र सम्भव नहुने भन्दै उनले सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।

‘सरकारले कर तिर्नेलाई केवल राजस्वको स्रोतका रूपमा होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्छ,’ उनले भने, ‘नेपालमा इमानदारीपूर्वक कर तिर्ने संस्कृतिलाई उच्च सामाजिक सम्मान दिलाउनु सरकारको दायित्व पनि हो।’

उनले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताए। लगानीकर्ताले आफ्नो सम्पत्ति सुरक्षित रहेको, नियम स्थिर रहेको र कर प्रणाली पूर्वानुमेय रहेको विश्वास गर्न सके मात्रै ठूलो लगानी भित्रिने उनको भनाइ थियो।

मन्त्री वाग्लेले बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग सरकारका सुधार प्रभावकारी भए-नभएकोबारे स्पष्ट प्रतिक्रिया मागेका छन्। व्यवसाय विस्तारमा अझै रहेका मुख्य अवरोध पहिचान गर्न उनले कर प्रशासन, नियमन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार, वित्त, निर्यात, कानुनी व्यवस्था र सरकारी प्रक्रियाबारे सुझाव मागे।

त्यस्तै, सरकारले आगामी छ महिनाभित्र गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण पाँच निर्णयसमेत पहिचान गरी सुझाव दिन उनले आग्रह गरे।

उनले केही दिनयता उद्योगी-व्यवसायी, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकको नेतृत्वसँग छलफल गरेको उल्लेख गर्दै ती छलफलबाट सरकार र निजी क्षेत्रले संयुक्त रूपमा आर्थिक रूपान्तरणको नेतृत्व गर्नुपर्ने निष्कर्षमा पुगेको बताए।

मन्त्री वाग्लेले आगामी दशकलाई नेपालमा ठूलो लगानी, ठूलो उत्पादन, ठूलो रोजगारी र ठूलो आत्मविश्वासको दशक बनाउनुपर्ने बताए।

उनले बहुराष्ट्रिय कम्पनीहरूलाई नेपालमा थप लगानी गर्न, सञ्चालनमा रहेका उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न, प्रविधि भित्र्याउन र रोजगारी सिर्जना गर्न आग्रह गरे।

सरकारले लगानीमैत्री र उत्पादनमुखी वातावरण निर्माण गर्न चाहेको भन्दै उनले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार भएको बताए।

‘हामीले यस वर्षको बजेटमार्फत स्पष्ट सन्देश दिएका छौँ – सरकार निजी क्षेत्रलाई शंकाको दृष्टिले होइन, साझेदारको दृष्टिले हेर्छ,’ वाग्लेले भने।

वाग्लेले सरकार र निजी क्षेत्रबीचको सम्बन्धलाई शून्य–योगको सम्बन्धका रूपमा बुझ्न नहुने बताए। उद्योगको विस्तारसँगै रोजगारी, आम्दानी, उपभोग र राजस्व बढ्ने भएकाले निजी क्षेत्रको वृद्धि सरकारकै आर्थिक हितसँग जोडिएको उनको भनाइ थियो।

उनले बहुराष्ट्रिय कम्पनीहरू नेपालका ठूला लगानीकर्ता, रोजगारदाता र करदाताका रूपमा अर्थतन्त्र निर्माणमा महत्वपूर्ण साझेदार रहेको बताए।

वाग्लेले नेपालमा लगानी गरेका कम्पनीहरूले आफ्ना कमजोरी तथा समस्या खुलेर बताउनुपर्ने र सरकारले पनि सुधार गर्नुपर्ने क्षेत्र पहिचान गरेर अघि बढ्ने बताए।

साथै, उनले बहुराष्ट्रिय कम्पनीहरूको लगानी र व्यवसाय विस्तारका लागि आफू सरकारको तर्फबाट साथमा रहने प्रतिबद्धता जनाए।

संसद्मा ड्रेस कोड लागू गर्न एमाले सांसद पोखरेलको माग

काठमाडौं। नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले सङ्घीय संसद्को गरिमा कायम राख्न पोसाक संहिता लागू गर्न माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री र मन्त्रीहरू समेत टिसर्ट लगाएर संसद् बैठकमा सहभागी हुने गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराए। उनले संसद् प्रवेशमा टिसर्ट लगाउन रोक लगाउँदै सांस्कृतिक वा राष्ट्रिय पोसाक अनिवार्य गर्न रुलिङ माग गरे।

पोखरेलले संसद्को लोगो पनि जथाभावी प्रयोग भइरहेको भन्दै कोट, हाफकोट र ओभरकोटबाहेक टिसर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज र सलमा लोगो प्रयोग गर्न रोक लगाउनुपर्ने बताए।

संसदीय अनुशासनका लागि विभिन्न देशका अभ्यासको उदाहरण दिँदै उनले संसद्को पोसाकसम्बन्धी मर्यादा कायम गर्न सभामुखसँग विशेष रुलिङ माग गरे।

संसदीय अभ्यास ‘कर्मकाण्डी’ भएको भन्दै सुधार समिति बनाउन रास्वपा महामन्त्री आचार्यको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले संसद्को वर्तमान अभ्यासलाई सुधार गर्न ‘संसदीय सुधार समिति’ गठन गर्न माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै आचार्यले संसदीय अभ्यास अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको भन्दै यसको समीक्षा र सुधारका लागि सभामुखको ध्यानाकर्षण गराएका हुन्।

उनले अहिलेको संसदीय अभ्यास ‘कर्मकाण्डी’ बन्दै गएको धारणा राख्दै संसद्ले सांसदहरूको क्षमता र भूमिकालाई पर्याप्त रूपमा उपयोग गर्न सकेको छ कि छैन भन्ने विषयमा सबै सांसदबीच सर्वेक्षण गर्नुपर्ने बताए।

‘एक पटक सबै सांसदहरूबीच सर्वेक्षण (पोलिङ) गर्नुपर्छ । के हामी सबै सांसदहरू अहिलेको संसदीय अभ्यासबाट खुसी छौँ त ? के हाम्रो क्षमतालाई अहिलेको संसदीय अभ्यासले सदुपयोग गरेको छ त ? यदि छ भने त मलाई समस्या छैन,’ उनले भने।

आचार्यले अहिलेको अभ्यासबाट धेरै सांसद असन्तुष्ट रहेको आफ्नो बुझाइ रहेको बताए। त्यस्तो अवस्था भए संसद्को कार्यशैली र अभ्यास सुधारका लागि सबै सांसद मिलेर अघि बढ्नुपर्ने उनको धारणा छ।

‘मेरो जस्तै बुझाइ धेरै सांसदहरूको पनि हो भने यो संसदीय अभ्यास सुधारका लागि सबैले मिलेर काम गर्नुपर्छ,’ उनले भने।

संसद्लाई थप सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउने विषयमा अध्ययन तथा सुझाव दिन छुट्टै समिति गठन गर्नुपर्ने प्रस्ताव उनले अघि सारे।

‘मिल्छ कि मिल्दैन मलाई थाहा छैन, तर एउटा संसदीय सुधार समिति बनाएर अहिलेको यो संसद्लाई कसरी बढी सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउने भन्ने दिशामा एकपटक काम गर्नुपर्छ जस्तो लाग्छ,’ आचार्यले भने।

उनले आफ्नो प्रस्तावका सम्बन्धमा सभामुखको ध्यानाकर्षण गराउँदै संसदीय अभ्यासमा सुधारका लागि संस्थागत पहल आवश्यक रहेको बताए।

धार्मिक तनाव रोक्न दीर्घकालीन नीति बनाउन राप्रपाको माग

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कप्तानगञ्ज र गोलबजारमा भएका पछिल्ला घटनालाई लिएर सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउँदै धार्मिक तथा सामुदायिक तनाव रोक्न दीर्घकालीन नीति बनाउन माग गरेको छ।

सोमबार प्रतिनिधिसभा बैठकमा राप्रपा सांसद सरस्वती लामाले नागरिकको जिउधनको सुरक्षा गर्न नसक्नु राज्यको कमजोरी भएको बताइन्। धार्मिक वा अन्य कुनै बहानामा हुने हिंसाले अन्ततः सामाजिक सद्भावसँगै देशलाई नै क्षति पुर्‍याउने उनको भनाइ थियो।

उनले यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकायबीच प्रभावकारी समन्वय, पूर्वतयारी र दीर्घकालीन सुरक्षा रणनीति आवश्यक रहेको बताइन्।

लामाले नेपालको बहुधार्मिक र बहुसांस्कृतिक पहिचानलाई ध्यानमा राख्दै सबै धर्म तथा आस्थाका केन्द्रलाई व्यवस्थित र पारदर्शी बनाउनुपर्ने प्रस्ताव अघि सारिन्। उनका अनुसार धार्मिक संस्थाहरू अनिवार्य रूपमा सरकारी निकायमा दर्ता हुनुपर्ने, आर्थिक स्रोत पारदर्शी बनाउनुपर्ने र नियमित लेखापरीक्षणको व्यवस्था गरिनुपर्छ।

भविष्यमा धार्मिक विवाद तथा द्वन्द्वको सम्भावना न्यूनीकरण गर्न एउटा आस्थाको केन्द्रदेखि अर्को आस्थाको केन्द्रबीचको दूरी र स्थानसम्बन्धी स्पष्ट मापदण्ड बनाउनुपर्ने मागसमेत उनले गरिन्।

यस्ता व्यवस्थालाई कुनै धर्ममाथिको हस्तक्षेपका रूपमा बुझ्न नहुने स्पष्ट पार्दै लामाले यसले सुशासन, पारदर्शिता र सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने बताइन्।

राज्यले सर्वधर्म समभावको सिद्धान्तअनुसार सबै धर्म, संस्कृति र ऐतिहासिक धरोहरको समान संरक्षण गर्नुपर्ने उनको जोड थियो।

‘हाम्रो विविधता विभाजनको कारण होइन, राष्ट्रिय एकताको शक्ति बन्नुपर्छ,’ उनले भनिन्, ‘धर्मका नाममा हुने कानुनविपरीतका गतिविधि कडाइका साथ रोक्दै सबैका लागि समान कानुनी मापदण्ड लागू गरिनुपर्छ।’

बालेनले संसद आउँदा टि-सर्ट खोल्नुपर्छ : एमाले

काठमाडौं। नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले संसद्को गरिमा कायम गर्न संसदीय पोशाकसम्बन्धी स्पष्ट व्यवस्था गर्न माग गरेका छन्। उनले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई टी-सर्ट लगाएर संसद् बैठकमा सहभागी हुन रोक लगाउनुपर्ने बताएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पोखरेलले संसदीय पोशाकसम्बन्धी अनुशासन कायम गर्न सभामुखबाट रुलिङ हुनुपर्ने माग गरे।

उनले सन् २०२१ फेब्रुअरी ९ मा न्युजिल्यान्डको संसद्मा भएको घटना तथा सन् २०२३ मा क्यानडाको संसद्मा पोशाकसंहिता लागू गर्न गरिएको संसदीय रुलिङको उदाहरणसमेत प्रस्तुत गरे।

संसद्को गरिमा कायम गर्न सांस्कृतिक वा राष्ट्रिय पोशाकलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई टी-सर्ट लगाएर संसद् प्रवेश गर्न रोक लगाउनुपर्ने माग गरे।

‘संसद्को गरिमा कायम गर्न सांस्कृतिक पोशाक वा राष्ट्रिय पोशाक अनिवार्य गरियोस्, प्रधानमन्त्री र मन्त्रीलाई टी-सर्ट लगाएर संसद्भित्र प्रवेश गर्न रोक लगाइयोस्,’ उनले भने।

त्यस्तै, संसद्को लोगो कोट, हाफकोट र ओभरकोटबाहेक टी-सर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज, सललगायतका पोशाकमा प्रयोग गर्न रोक लगाउनुपर्ने उनले बताए।

‘संसदीय पोशाकसम्बन्धी अनुशासन कायम गर्न रुलिङको माग गर्दछु,’ उनले भने।

१५ सेकेण्ड मात्रै बोले ध्रुव राई, भने- ‘विश्वभरबाट कुरी कुरी भनियो’

सोमबार (साउन २५) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को सीमासम्बन्धी अभिव्यक्तिपछि राष्ट्रियताको विषयमा सबै एकजुट हुनुपर्ने आफ्नो आग्रह कार्यान्वयन हुन नसकेको बताए।

उनले भने, ‘सभामुख महोदय, मैले यसअघि जुन विषयमा हामी एक ढिक्का हुनुपर्छ भनेको थिएँ, त्यसमा नेपाली मात्र नभएर विश्वभरबाट कुरीकुरी भनेको हुनाले मेरो भनाइ यहीँ अन्त्य गर्छु।’

त्यसपछि सांसद राई थप केही नबोली आफ्नो आसनमा बसेका थिए।

 

‘सत्ता र सरकार अस्थायी हुन्, तर भूगोल र सार्वभौमसत्ता स्थायी हुन्छ’

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)को सञ्चार शैलीदेखि सरकारको कार्यसम्पादनसम्म प्रश्न उठाउँदै जनताका वास्तविक समस्या ओझेलमा परेको आरोप लगाएको छ।

सोमबार प्रतिनिधिसभा बैठकमा एमाले सचेतक निता घतानीले प्रधानमन्त्रीले राष्ट्रका नाममा गर्ने सम्बोधन सरकारी सञ्चार माध्यमलाई भन्दा आफ्नै सामाजिक सञ्जाल र त्यसबाट आउने भ्युज तथा मनिटाइजेसनलाई प्राथमिकता दिएको आरोप लगाइन्।

प्रविधिको प्रयोग सकारात्मक भए पनि राज्यका आधिकारिक सञ्चार संयन्त्रलाई बेवास्ता गरेर व्यक्तिगत फेसबुक पेजमार्फत लोकप्रियता खोज्ने प्रवृत्ति उचित नभएको उनको भनाइ थियो। प्रधानमन्त्रीजस्तो संवैधानिक जिम्मेवारीमा रहेको व्यक्तिको सम्बोधनलाई संस्थागत प्रक्रियामार्फत नागरिकसम्म पुर्‍याउनुपर्ने उनले बताइन्।

घतानीले प्रधानमन्त्री शाहले संसद्को रोस्टमबाटै नेपालले भारतको सीमा मिचेको आशयको अभिव्यक्ति दिएको भन्दै त्यसप्रति समेत आपत्ति जनाइन्।

संवेदनशील भूराजनीतिक विषयमा प्रधानमन्त्रीले कुन तथ्य, प्रमाण र कूटनीतिक आधारमा यस्तो अभिव्यक्ति दिए भन्ने प्रश्न गर्दै उनले उक्त भनाइ तत्काल संसद्को अभिलेखबाट हटाउन र प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग गरिन्।

‘सत्ता र सरकार अस्थायी हुन्, तर भूगोल र सार्वभौमसत्ता स्थायी हुन्छ,’ उनले भनिन्।

उनले सरकार जनताका दैनिक समस्याप्रति गम्भीर नभएको आरोप पनि लगाइन्। सहकारीपीडित बचत फिर्ताको पर्खाइमा रहेको, सुकुम्बासीहरू आवासको समस्यामा रहेको तथा किसानले मल र उत्पादनको उचित मूल्य नपाएको विषय उनले संसद्मा उठाइन्।

स्वास्थ्य सेवातर्फ पनि सरकार असफल भएको उनको दाबी थियो। गरिब नागरिक उपचारबाट वञ्चित भइरहेको, स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको तथा आवश्यक सेवामा नागरिकले अझै सास्ती खेप्नुपरेको उनले बताइन्।

बजारमा ग्यास अभाव र महँगी बढिरहेको उल्लेख गर्दै उनले सरकारको उपस्थितिमाथि प्रश्न उठाइन्। ‘बजारमा ग्यास छैन, तर सरकार कहाँ छ ?’ भन्दै उनले सरकारको प्राथमिकता जनताको दैनिकी सहज बनाउनेतर्फ हुनुपर्ने बताइन्।

पासपोर्ट, सवारी चालक अनुमतिपत्र तथा अस्पतालमा सेवाग्राहीले अझै लामो लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै घतानीले सरकारको सेवा प्रवाहमाथि पनि प्रश्न उठाइन्।

सिंहदरबारको नाम परिवर्तन गर्ने विषयमा भइरहेको बहसप्रति समेत उनले टिप्पणी गर्दै सरकारको ध्यान प्रतीकात्मक विषयमा भन्दा जनताले भोगिरहेका आधारभूत समस्या समाधानमा केन्द्रित हुनुपर्ने संकेत गरिन्।

देउवा एक्लै नेपाल आउने, आरजु र जयवीर नआउने

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा एक्लै नेपाल फर्किने भएका छन्। हङकङ हुँदै गत शुक्रबार थाइल्यान्डको राजधानी बैंकक पुगेका देउवा साउन २८ गते बिहीबार नेपाल फर्किन लागेका हुन्।

देउवासँगै नेपालबाहिर रहेका पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ आरजु राणा देउवा र उनका छोरा जयवीर देउवा भने नेपाल नफर्किने देउवानिकट स्रोतले जनाएको छ।

यसअघि देउवा साउन २६ गते नै नेपाल फर्किने तयारीमा थिए। तर, समय व्यवस्थापनमा समस्या भएपछि उनको नेपाल फर्किने कार्यक्रम दुई दिन पछि सारिएको स्रोतको भनाइ छ।

नेपाली कांग्रेसको असन्तुष्ट पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागेको भेलामा सहभागी हुन देउवा नेपाल फर्किन लागेको बताइएको छ।

कांग्रेसभित्र पछिल्लो समय बढ्दै गएको आन्तरिक असन्तुष्टि र नेतृत्वलाई लिएर भइरहेको बहसका बीच देउवाको नेपाल आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। भेलामा पार्टीको आगामी रणनीति, नेतृत्व तथा आन्तरिक विवादका विषयमा समेत छलफल हुने बताइएको छ।

सनातन हिन्दुराष्ट्रको माग गर्दै काठमाडौंमा ‘साउन पैदल यात्रा’

काठमाडौं। नेपाललाई सनातन हिन्दुराष्ट्र पुनःस्थापना गर्नुपर्ने माग गर्दै काठमाडौंमा धार्मिक ‘साउन पैदल यात्रा’ आयोजना गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा श्रावणको अन्तिम सोमबार पैदलयात्रा गरिएको हो। मैतिदेवी मन्दिरबाट सुरु भएको यात्रा पशुपतिनाथ मन्दिरमा पुगेर सम्पन्न भएको थियो।
पैदलयात्रामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतको सहभागिता थियो। सहभागीहरूले सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण तथा नेपाललाई पुनः सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने मागसहित विभिन्न नाराहरू लगाएका थिए।
संगठनले धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण, सनातन परम्पराको प्रवर्द्धन र हिन्दुराष्ट्र पुनःस्थापनाको मागलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले ‘साउन पैदल यात्रा’ आयोजना गरिएको जनाएको छ।
तस्वीरहरू: 

प्रधानमन्त्रीको सम्बोधन फेसबुकको भ्युज र मनिटाइजेसनमा केन्द्रित भएको एमालेको आरोप

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रका नाममा हुने सम्बोधन सरकारी सञ्चारमाध्यमभन्दा निजी फेसबुक पेज र मनिटाइजेसनमा केन्द्रित भएको आरोप लगाएको छ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सचेतक निता घतानीले प्रविधिको प्रयोग सकारात्मक भए पनि राज्यका आधिकारिक निकायलाई बाइपास गरेर फेसबुकको भ्युज बढाउनेतर्फ प्रधानमन्त्री केन्द्रित हुनु दुःखद भएको बताइन्।

सांसद घतानीले प्रधानमन्त्री शाहले संसद्को रोस्टमबाटै नेपालले पनि भारतको सीमा मिचेको आशयको अभिव्यक्ति दिएको भन्दै त्यसको प्रतिवाद गरिन्। उनले प्रधानमन्त्रीले कुन तथ्य, प्रमाण र कूटनीतिक आधारमा यस्तो संवेदनशील विषयमा अभिव्यक्ति दिएको हो भन्ने स्पष्ट पार्नुपर्ने माग गरिन्।

‘सत्ता र सरकार अस्थायी हुन्, तर भूगोल र सार्वभौमसत्ता स्थायी हुन्छ,’ उनले भनिन्, ‘आफ्नो देशको अस्मितामाथि प्रश्न उठाउने अभिव्यक्ति तत्काल संसद्को रेकर्डबाट हटाइनुपर्छ र प्रधानमन्त्रीले यसमा माफी माग्नुपर्छ।’

सरकार देशका विभिन्न वर्ग र समुदायले भोगिरहेका समस्याप्रति बेखबर रहेको आरोप पनि घतानीले लगाइन्। उनका अनुसार सहकारी पीडितहरू आफ्नो बचत फिर्ताको पर्खाइमा छन् भने सुकुम्वासीहरू बासको चिन्तामा छन्। तर, सरकारले उनीहरूका समस्या समाधान गर्न ठोस पहल गर्न नसकेको उनको भनाइ थियो।

किसानले समयमा मल नपाएको र उत्पादनको उचित मूल्यसमेत नपाएको उनले बताइन्। गरिब तथा विपन्न नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाइरहेको अवस्थामा बन्द भएको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन पनि सरकार असफल भएको उनको आरोप थियो।

बजारमा ग्यासको अभाव र महँगी बढ्दै गएको उल्लेख गर्दै उनले प्रश्न गरिन्, ‘बजारमा ग्यास छैन, तर सरकार कहाँ छ?’

राहदानी, सवारीचालक अनुमतिपत्र तथा अस्पतालमा सेवा लिन नागरिकले अझै पनि लामो लाइनमा बस्नुपर्ने अवस्था रहेको भन्दै उनले सरकारको ‘अनलाइन’ सेवा प्रवाहमाथि समेत प्रश्न उठाइन्।

पछिल्लो समय सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने विषयमा भइरहेको बहसबारे पनि सांसद घतानीले टिप्पणी गरेकी थिइन्।

‘घेराबन्दी होइन, जवाफदेही बनाउन खोजेका हौँ’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन दबाब बढाएको छ।

कांग्रेस सांसद रेनुका काउचाले सोमबार प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालसमक्ष प्रधानमन्त्रीलाई रुलिङमार्फत सदनमा बोलाउन माग गरेकी हुन्।

काउचाले प्रधानमन्त्रीलाई संसद्मा जवाफ दिन बोलाउनु सरकारलाई कमजोर बनाउने नभई प्रधानमन्त्री र सभामुख पदको गरिमा कायम गर्ने प्रयास भएको बताइन्। उनले आफूहरूले प्रधानमन्त्रीको घेराबन्दी गर्न नभई सरकारलाई जवाफदेही बनाउन खोजेको स्पष्ट पारिन्।

‘प्रधानमन्त्रीज्यूलाई रुलिङ गरेर सदनमा जवाफ दिन बोलाउनुहोस्। हामी तपाईंलाई घेराबन्दी गर्न होइन, जवाफदेही बनाउन चाहन्छौँ,’ उनले भनिन्।

प्रधानमन्त्री शाहप्रति प्रतिपक्ष सकारात्मक रहेको संकेत दिँदै काउचाले मुलुकको हितमा अघि बढे सरकारलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाइन्। उनले प्रधानमन्त्री एक्लो नरहेको भन्दै प्रतिपक्ष आवश्यक पर्दा साथमा उभिने बताइन्।

तर, त्यसका लागि सरकारले संविधान र संसद्को मर्यादा कायम राख्नुपर्ने उनको जोड थियो। ‘संविधानभन्दा माथि कोही छैन, संसद्भन्दा ठूलो राजनीतिक मञ्च छैन र राष्ट्रिय हितभन्दा ठूलो कुनै दल छैन,’ उनले भनिन्।

कांग्रेसले विशेषगरी प्रधानमन्त्रीले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिबारे स्पष्ट जवाफ दिनुपर्ने माग गर्दै आएको छ। प्रतिनिधिसभामा उक्त विषय पटक–पटक उठे पनि प्रधानमन्त्रीबाट अहिलेसम्म स्पष्ट जवाफ नआएको भन्दै प्रतिपक्षी सांसदहरूले प्रश्न उठाइरहेका छन्।

काउचाले प्रधानमन्त्रीसँग जवाफ माग्नु राजनीतिक विरोधका लागि मात्र नभएको दाबी गरिन्। उनका अनुसार संसद्मा उठेका गम्भीर विषयको जवाफ दिने दायित्व सरकारको हो र त्यसबाट प्रधानमन्त्री पनि पन्छिन नमिल्ने उनको भनाइ छ।

युवा पुस्ताबाट आएका प्रधानमन्त्रीप्रति आफूहरूको अपेक्षा रहेको उल्लेख गर्दै उनले सरकार असफल हुने अवस्था आउन नदिन प्रधानमन्त्रीले सत्य स्वीकार गर्ने र गल्ती भए सच्याउने राजनीतिक साहस देखाउनुपर्ने बताइन्।

कांग्रेस सांसदले बालेनलाई भनिन् – ‘नडराउनुहोस्, तपाईं एक्लो हुनुहुन्न’

काठमाडौं। नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिपक्षबाट समेत सहयोग पाउने बताएकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री शाहलाई सत्य स्वीकार गर्दै राजनीतिक संवाद र सहकार्यको बाटोमा अघि बढ्न आग्रह गरिन्।

‘प्रधानमन्त्रीजी नडराउनुहोस्, तपाईं एक्लो हुनुहुन्न । तपाईंको साथमा प्रतिपक्ष छ,’ उनले भनिन्, ‘सत्य स्वीकार गर्नुहोस् । गलत भएका छन् भने सच्याउने साहस देखाउनुहोस्।’

काउचाले युवा पुस्ताबाट प्रधानमन्त्री बनेका शाहप्रति आफूहरूको अपेक्षा रहेको बताइन्। युवा नेतृत्वले मुलुकमा सकारात्मक परिवर्तन ल्याउने विश्वास रहेकाले प्रधानमन्त्रीलाई असफल हुने छुट नरहेको उनको भनाइ थियो।

उनले प्रधानमन्त्रीले राजनीतिक दल तथा प्रतिपक्षसँग संवाद बढाएर सरकार सञ्चालन गर्नुपर्ने संकेत गर्दै आवश्यक अवस्थामा प्रतिपक्ष पनि सहयोग गर्न तयार रहेको बताइन्।

उनको अभिव्यक्ति संसद्मा प्रधानमन्त्री शाहप्रति कांग्रेसको पूर्ण विरोधभन्दा पनि सुधारका लागि सहकार्य र संवादको प्रस्तावका रूपमा आएको देखिन्छ।