`

लामो दूरीका सबै गाडीहरु अनिवार्य बसपार्कबाटै छुट्नु पर्ने

काठमाडौं । काठमाडौं उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइका साथ नयाँ व्यवस्था लागू गरेको छ । अबदेखि उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्रै छुट्नु पर्ने व्यवस्था लागू गरिएको छ ।

लामो दूरीका सवारी साधनले पछिल्ला दिनमा स्थानीय सवारी साधन (लोकल बस) जस्तै जथाभावी सडकको किनारमै थामेर यात्रु चढाउने–ओराल्ने कार्य बढाएको पाइएकाले यसले विशेष गरी ‘पिक आवर’ मा सडकमा गम्भीर जाम सिर्जना हुँदै आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले भने, ‘राजधानीका सडकमा अत्यधिक भिडभाड तीव्र गतिमा बढिरहेका छन्, लामो दूरीका गाडीहरूले नियमविपरीत सडक रोकेर यात्रु उठाउने–झार्ने कार्यले जामलाई अझै चर्काएको छ, त्यसैले अब सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको हो ।’

यस्तै लामो दूरीका गाडीलाई दिइँदै आएको बाटो इजाजतपत्र समेत पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएकाले ट्राफिक कार्यालयले सम्बन्धित निकायसमक्ष आवश्यक पहलका लागि अनुरोध गरिसकेको प्रवक्ता सुवेदीले बताए । ‘ट्राफिक जामका कारण नागरिकको दैनिकीमा सिधा असर पर्ने भएकाले यसको दीर्घकालीन समाधानका लागि सबै सरोकारवाला निकायको समन्वय अपरिहार्य रहेको छ’, उनले भने ।

ट्राफिक प्रहरीले सडक अनुशासन मजबुत बनाउन विभिन्न कडाइ पनि अघि सार्दै आएको छ । रातो बत्ती उल्लङ्घन गर्ने, लेन क्रस गर्ने, तीव्र गतिमा सवारी साधन चलाउने तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई अनिवार्य रूपमा सचेतना कक्षा दिन थालिएको कार्यालयले जनाएको छ । चालकमा जिम्मेवार व्यवहार विकास गर्ने उद्देश्यले यी कक्षालाई अझ प्रभावकारी बनाउन पनि योजना बनाइएको जनाइएको छ ।

यस बाहेक सेवाग्राहीका लागि अनलाइन सचेतना कक्षा पनि सञ्चालनमा ल्याइएको छ । यस सेवाको प्रयोग गर्न मोबाइल एप प्रयोग गर्दै आएका चालक तथा सेवाग्राहीले पहिले ‘इन्स्टल’ गरेको एप्लिकेसनलाई एक पटक ‘अनइन्स्टल’ गरी पुनः इन्स्टल गर्नुपर्ने प्रवक्ता सुवेदीले जानकारी दिए । उनका अनुसार नयाँ प्रणालीमार्फत घरमै बसेर कक्षा लिन सकिने भएकाले यसले सेवाग्राहीलाई थप सहजता दिने अपेक्षा गरिएको छ ।

नयाँ व्यवस्था कार्यान्वयन भएपछि उपत्यकामा देखिँदै आएको अव्यवस्थित पार्किङ, अनावश्यक रोकावट तथा यात्रु व्यवस्थापनमा उल्लेखनीय सुधार आउने विश्वास लिइएको प्रवक्ता सुवेदीको भनाइ छ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुदृढ बनाउन र नागरिकलाई सहज आवागमन उपलब्ध गराउन ट्राफिक प्रहरी निरन्तर सक्रिय रहेको जनाइएको छ ।

 

कांग्रेसले राष्ट्रियसभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने

काठमाडौं । नेपाली कांग्रेसले कुनै तहका जनप्रतिनिधिलाई पनि आउँदो निर्वाचनमा उम्मेदवार नबनाउने भएको छ । केन्द्रीय कार्यालयबाट उम्मेदवार सिफारिसको मापदण्डमा थप प्रष्ट पार्दै पठाएको परिपत्रमा राष्ट्रिय सभा र प्रदेश सभामा रहेकाहरूलाई उम्मेदवार सिफारिस नगर्न भनेको हो । ‘राष्ट्रिय सभामा हाल बहाल रहनु भएका माननीय सांसदहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन’ परिपत्रमा भनिएको छ, ‘प्रदेश सभामा हाल बहाल रहनु भएका प्रदेश सभा सदस्यहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन ।’

यसअघि १० बुँदे मापदण्डसहित पठाएको परिपत्रमा ०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न नपाइने उल्लेख छ । यस्तै, ०७९ को निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्ति, प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिकको बन्द सूचीमा समावेश भएका व्यक्तिहरूलाई समेत कांग्रेसले उम्मेदवार बन्न रोकेको छ ।

क्रियाशील सदस्यता टुङ्गो लगाउन दुई दिनभित्र देशभर फाराम पठाउन निर्देशन
यसैबीच कांग्रेसले १५ औं महाधिवेशनको मिति घोषणा भएसँगै नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विषय चाँडै टुङ्ग्याउने तयारी अगाडि बढाएको छ । महामन्त्री गगन थापाले क्रियाशील व्यवस्थापन समितिको बैठक राखेर १६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन निर्देशन दिएका छन् ।

समितिका सदस्य प्रकाश रसाइली स्नेहीले भने, ‘हामीले अब दुई दिनभित्र नयाँ सदस्यताको फर्म देशभर पुर्‍याउँछौं । जनसंख्या र क्लस्टर संरचनालाई समेत मापदण्डका रूपमा प्रयोग गरेर सदस्यताको विषय तोकिएको सयमै हामीले सम्पन्न गराउँछौँ ।’ सदस्यता नवीकरणका लागि सबै जिल्लाले अब सक्रियतापूर्वक काम गर्ने बताए । भातृ संस्थाबारे पनि पदाधिकारी बैठक बसेर चाँडै टुङ्ग्याउने तयारी भइरहेको जानकारी दिए । महामन्त्री थापा संयोजक रहेको समितिमा स्नेहीसहित योगेन्द्र चौधरी र सीता गुरुङ सदस्य छन् ।

एमाले महाधिवेशन उदघाटन सत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने

काठमाडौँ । नेकपा (एमाले) को आसन्न ११औं राष्ट्रिय महाधिवेशनको उदघाटन सत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएका छन् । एमालेको ११औं महाधिवेशनको उद्घाटन यही मंसिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा हुने तय भएको छ । पार्टीको महाधिवेशनका लागि गठित स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालका अनुसार उद्घाटनको खुल्ला सत्रमा उल्लेख्य जनसहभागिता हुने भएकाले १० हजार स्वयंसेवक परिचालन गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

संयोजक ढकालका अनुसार महाधिवेशनको बन्द सत्रमा करिब ५०० स्वयंसेवक हुनेछन् । ती स्वयंसेवक पार्टीका विभिन्न २४ जनसंगठन र विभिन्न कमिटीबाट माग गरिएको उनले बताए । एमालेले हालै गठन गरेको राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) ले पनि स्वयंसेवाको समन्वय गर्नेछ। यस्तै सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी क्षेत्रफलमा फैलिएको उक्त चौरमा एमालेका उपमहासचिव एवं महाधिवेशनको जनपरिचालन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीसहितको टोलीले बुधबार अवलोकन गरेको छ । उनका साथै एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य विनोद श्रेष्ठ, भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, उपाध्यक्ष एवं बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, जिल्ला सचिव विष्णु तामाङलगायत सहभागी थिए ।

उक्त चौरमा करिब दुई लाख जनसहभागिताको क्षमता गरिएको संयोजक ढकालले उल्लेख गरे । उनका अनुसार त्यहाँ मञ्च व्यवस्थापन, शौचालयलगायत आवश्यक पूर्वाधार निर्माणका लागि स्वयंसेवक खटिसकेका छन् । उद्घाटनका दिन पूर्वबाट आउने सवरीसाधानलाई जगातीस्थित इँटा तथा टायल कारखानामा र पश्चिमबाट आउने सवारीसाधनलाई गठ्ठाघरबाट कमेरोटार क्षेत्रमा व्यवस्थापन गरिने उनले जानकारी दिए । महाधिवेशनमा आयोजक र निर्वाचित गरी दुई हजार ४०० प्रतिनिधि रहने छन् । महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म हुनेछ ।

यसरी मनाइँदैछ धान्यपूर्णिमा, योमरी पुन्ही र राष्ट्रिय ज्यापु दिवस {तस्वीरहरु}

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन अर्थात आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदैछ । मंसिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा र नेवार समुदायले योमरी बनाएर चढाउने परम्परा छ ।

नयाँ धान भित्र्याएको खुशीयालीमा उपत्यका लगायत देशभरका नेवार समुदायले योःमरि पूर्णिमा पर्वका साथै राष्ट्रिय ज्यापु दिवस हर्षोल्लासका साथ मनाएका छन् । यस वर्षको योःमरि पूर्णिमा एबं राष्ट्रिय ज्यापु दिवसको र्याली काठमाडौं ५ हाँडीगाउँबाट निकालिएको छ ।  र्‍याली हाँडिगाउँ बाट सुरु हुदै टंगाल गणेश, नक्साल भगवती मन्दिर, प्यगंःथा, नाग पोखरी, नारायण हिटी, कशर महल, ठँबही त्रिदेवी चोक, ज्याठा, त्यःर, असं,बालकुमारी,केलत्वाः , वंघः, मरुत्वा, कालभैरव, हनुमान ध्वाका हुदै बसन्तपुरमा समाप्त हुने आयोजकले जानकारी दिएको छ ।

योःमरि पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाउने यस चाडलाई खाद्यपदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । काठमाडौं उपत्यकाका नेवार समुदाय अन्तर्गतका ज्यापुहरुले एक साथ योमरी पुन्ही र राष्ट्रिय ज्यापु दिवस मनाएका छन् । नेवार समुदायको प्रमुख र मौलिक पर्व ‘यःमरी पुन्हि’ आज मनाइँदैछ । विशेषगरी काठमाडौं उपत्यकाका रैथाने नेवार समुदायले मनाउने यो पर्वको आफ्नै महत्व र विशेषता छ । नेवार समुदायमा कृषिसम्बन्धी धेरै चाडपर्व हुने गर्दछन् ।मौसमअनुसारको खानपान गर्न सिपालु नेवार समुदायले त्यही खाने पकवानको नामबाटै चाडपर्वलाई परिचित गराएका छन् । मार्ग शुक्ल पूर्णिमाको दिन मनाइने यःमरी पुन्हि पनि यस्तै एउटा पर्व हो । यो पर्वमा विशेष प्रकारको रोटीको भोग गर्ने गरिन्छ, जसलाई ‘यःमरी’ भनिन्छ । नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । यःमरीलाई पञ्चतत्वका रुपमा पनि लिइन्छ ।

यःमरीमा धरतीको रुपमा चामलको मिठो, अग्निको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ । नयाँ धान भित्र्याएको खुशीयालीमा हर्षोल्लासका साथ यो चाड मनाइन्छ । भर्खरै भित्र्याइएको नयाँ धानको चामलबाट यःमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवम् भण्डारमा यःमरीलगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो स–साना पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाइन्छ । यःमरीलाई भकारीलगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पत्ति र अन्नलाभ हुने नेवार समुदायमा विश्वास रहिआएको छ । यसरी चढाएको यःमरी चार दिनपछि प्रसादका रुपमा परिवारका सबै सदस्यले बाँडेर खाने चलन छ ।

साँझपख टोलटोलमा केटाकेटी, युवा–युवती जम्मा भई यःमरी माग्ने प्रचलन पनि रहेको छ । यो एक प्रकारको देउसी, भैलो जस्तो हो । यसरी यःमरी माग्ने प्रचलन आजको दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष पनि हो, जसलाई ‘त्यसिंत्य’ भन्ने गरिन्छ । वैज्ञानिक हिसाबले पनि यःमरीको महत्व रहेको पाइन्छ । जाडो महिनामा मनाइने यःमरी पुन्हिमा पकाइने यःमरीमा हालिने चाकु र तिलले शरीरमा न्यानो दिने र चिसोबाट हुने विभिन्न रोगबाट समेत सुरक्षित राख्न मद्दत गर्दछ ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी

भारत आउँदै छन् रुसी राष्ट्रपति पुटिन, आजै मोदीसँग भेट्ने

रुसी राष्ट्रपति भ्लादमिर पुटिन दुई दिने राजकीय भ्रमणका लागि आज भारत आउँदैछन् । सन् २०२२मा युक्रेन युद्ध सुरु भएपछि उनी पहिलो पटक भारत आउन लागेका हुन् । यसअघि सन् २०२१मा उनी भारत आएका थिए ।

पुटिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत आउन लागेका हुन् । अपरान्ह ४ बजे भारत आइपुगेपछि उनी प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् ।

भारत भ्रमणका क्रममा उनी शुक्रबार रुस-भारत शिखर सम्मेलनमा सहभागी हुनेछन् । यो सम्मेलनमा व्यापार, श्रम र पर्यटनसँग सम्बन्धित विभिन्न सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । दुई देशबीच रुसी तेलको खरिदको विषयमा पनि छलफल हुनेछ ।

युक्रेन युद्धपछि युरोपेली देशहरूले रुसी खनिज इन्धन खरिद गर्न छोडेपछि भारत एक प्रमुख खरिदकर्ता मुलुक बनेको छ ।

शिखर सम्मेलनअघि दुई देशका रक्षामन्त्रीहरूबीच औपचारिक वार्ता हुनेछ । वार्तामा रुसी लडाकु विमान खरिद लगायतका विषयमा छलफल हुने बताइएको छ ।

भारत भ्रमणका क्रममा पुटिनले महात्मा गान्धीको समाधीस्थलमा गएर श्रद्धान्जली प्रकट गर्नेछन् भने भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले रात्रीभोज आयोजना गर्नेछिन् ।

यी सबै कार्यक्रमपछि शुक्रबार साँझ उनी रूस फर्किनेछन् ।

 

 

कांग्रेस महाधिवेशन : प्यानलसहित सभापतिमा उठ्ने कल्याण गुरुङको घोषणा

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन नजिकिँदै जाँदा सभापति पदका आकांक्षीहरू खुलेर मैदानमा उत्रिन थालेका छन् । महामन्त्री गगन थापा र डा. शेखर कोइराला पहिले नै उम्मेदवारी संकेत गरिसकेका छन् । अघिल्लो महाधिवेशनमा पाँचौं स्थानमा पुगेका कल्याण गुरुङले पनि यस पटक प्यानलसहित सभापतिमा दावेदारी गर्ने घोषणा गरेका छन् ।

गुरुङले आफूले गत महाधिवेशनमा प्यानल नबनाउनु ठूलो कमजोरी भएको बताएका छन् । त्यसैले यस पटक टीम नै बनाएर प्रतिस्पर्धामा उत्रिने उनको भनाइ छ । उनले भने, ‘केही दिनभित्रै प्यानल सार्वजनिक गरेर औपचारिक घोषणा गर्छु ।’ कांग्रेसको संस्थापन–इतर धार तथा सात पूर्व पदाधिकारीहरूको समूह अहिले साझा उम्मेदवार खोज्ने प्रयासमा छ ।

विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, विजय गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महतबीच पटक–पटक छलफल भए पनि साझा नाममा सहमति जुटेको छैन । यीमध्ये गच्छदार र महतबाहेक पाँच जनाले सभापतिमा दाबी गरिरहेका छन् । यसैबीच गुरुङले भने आफूले अन्य आकांक्षीलाई समर्थन गरेर पछि हट्ने अवस्था नभएको प्रस्ट पारे । उनले भने, ‘उहाँहरूले मलाई साथ दिन चाहनु हुन्छ भने सहकार्य सम्भव छ, तर म अरूलाई समर्थन गर्न सक्दिनँ ।’ १४औं महाधिवेशनमा गुरुङले २२ मत प्राप्त गर्दै पाँचौँ स्थानमा सीमित भएका थिए । दोस्रो चरणको मतदानमा उनले शेरबहादुर देउवालाई समर्थन गरेका थिए । यस पटक भने मतदाताको बुझाइ, संगठनमा आफ्नो उपस्थिति र नयाँ प्यानलले आफ्नो दावेदारीलाई मजबुत बनाउने उनको दाबी छ ।

 

ओलीको टिमबाट शेरबहादुर तामाङ उपमहासचिवमा उठ्ने

काठमाडौं । नेकपा एमालेको आसन्न ११औं महाधिवेशनमा शेरबहादुर तामाङले उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तामाङ अहिले स्थायी कमिटी सदस्य छन् । अध्यक्षमा केपी ओलीलाई समर्थन गर्दै उनले उपमहासचिवमा दाबी गरेका हुन् । महाधिवेशनमा नेतृत्व चयनका लागि प्रतिस्पर्धा हुने देखिएपछि आफूले अध्यक्ष ओलीको प्यानलबाट उपमहासचिवमा दाबी गरेको बताए । उनले सुनाए, ‘मलाई अहिले उपमहासचिव पद उपयुक्त लागेकाले मैले दाबी गरेको हुँ । अध्यक्षसँग पनि कुरा गरिसकेको छु ।’

उनले पार्टीभित्र यो वा त्यो समूह भन्दै प्रचार भइरहेकाले अध्यक्षले पनि प्रतिस्पर्धाबाटै नेतृत्व चयन गर्न ढोका खुला गरिसकेको जिकिर गरेका छन् । तपाईको उम्मेदवारी उपमहासचिवमा नै रहन्छ कि दाबी मात्रै हो भन्ने जिज्ञासामा उनले थपे, ‘मैले अहिले उपमहासचिव नै भनेको छु, अब हेरौं महाधिवेशनसम्म के हुन्छ ।’ सिन्धुपाल्चोक घर भएका तामाङ मन्त्री समेत भइसकेका छन् ।

‘इम्बोस्ड नम्बर प्लेट’ सम्झौताको म्याद थप्नु राष्ट्र र जनतामाथि घात : भीम रावल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने विदेशी कम्पनीसँगको सम्झौता पुनः नवीकरण गर्ने तयारीप्रति आपत्ति जनाएका छन् । आज (बिहीबार) सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सम्झौताले राष्ट्रियता, गोपनीयता र जनहित सबैमा आघात पु¥याउँछ भन्दै अन्तरिम सरकारलाई गम्भीर चेतावनी दिएका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अमेरिका–बंगलादेश संयुक्त कम्पनी ‘डेकाटोर’सँगको म्याद सकिएको सम्झौतामा फेरि म्याद थप्ने तयारी भएको समाचारप्रति रावलले गम्भीर ध्यानाकर्षण भएको बताए ।

रावलले भने, ‘म्याद सकिँदा फेरि सम्झौता थप्ने निर्णय गरियो भने त्यो नेपालको राष्ट्रियता र नेपाली जनतामाथिको घात हुनेछ ।’ रावलका अनुसार इम्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने सूचना प्रणाली र उपकरणमार्फत नेपालीहरुको व्यक्तिगत डेटा विदेशी कम्पनीले नियन्त्रण गर्ने सम्भावना रहन्छ, जुन राष्ट्रिय सुरक्षाका दृष्टिले समेत जोखिमपूर्ण छ ।

नेपाली भाषा र देवनागरी लिपिलाई सरकारी कामकाजको भाषा बनाएको संविधान विपरीत इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर प्रयोग गरिएको प्रति रावलले कडा आपत्ति जनाएका छन् । रावलले इम्बोस्ड नम्बर प्लेटलाई ‘महँगो र अन्यायपूर्ण शुल्क असुली गर्ने संयन्त्र’ को रूपमा चित्रित गर्दै जनतालाई आर्थिक रूपमा ठगिएको आरोप लगाए ।

विगतमा समेत यो सम्झौता संसद, सडक र सरोकारवाला सबैतर्फबाट व्यापक विरोध झेलेको रावलले स्मरण गराए। जनविरोधी, असंवैधानिक र राष्ट्रिय हितविपरीतका निर्णयलाई निरन्तरता दिनु स्वीकार्य हुन नसक्ने उनले बताए । सम्झौता नवीकरणको सम्भावनाप्रति चिन्ता व्यक्त गर्दै डा. रावलले अन्तरिम सरकारलाई यो प्रक्रिया रोक्न आग्रह गर्दै भनेका छन्, ‘जनताको आवाज, राष्ट्रिय हित र गोपनीयताको सुरक्षा नै पहिलो प्राथमिकता हुनुपर्छ ।’

एनपिएल: पोखरा टस जितेर काठमाडौँविरुद्ध बलिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् ।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा पोखराले टस जितेर बलिङ रोजेको छ । पाँच खेलबाट चार अङ्क मात्रै जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ ।

काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ । लिग चरणको अन्तिम खेलमा जित निकालेर काठमाडौँ प्लेअफमा सुरक्षित हुन चाहन्छ । आजै अपरान्ह ४ बजे हुने दोस्रो हुने खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्नेछन् । मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी

काठमाडौं । अध्यागमन विभागले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्ने तयारी गरेको छ । नेपाल भित्रिने विदेशी नागरिकहरूको तथ्यांक व्यवस्थित ढङ्गले संकलन, अभिलेखन र विश्लेषण गर्न उक्त प्रणाली लागू गर्न लागिएको हो । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले पर्यटकहरूको सुरक्षाको सुनिश्चितता, सूचना प्रवाहमा सहजता, पर्यटन प्रवद्र्धन, र अपराध नियन्त्रणका लागि उक्त प्रणाली लागू गर्न लागिएको जानकारी दिए ।

महानिर्देशक तिवारीले मुलुकमा प्रवेश गर्ने विदेशी नागरिकको गतिविधि र आवाससम्बन्धी विवरण राज्यलाई अनिवार्य रूपमा थाहा हुनुपर्ने स्पष्ट गर्दै आगामी जनवरी १ देखि ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू हुने बताए । उनकाअनुसार जसरी राज्यका नागरिकहरुको अवस्थाबारे राज्यलाई थाहा हुनुपर्छ त्यसरी नै विदेशी नागरिकको अवस्थासँगै उनीहरु आएको मुलुकमा अवस्था सरकारलाई जानकारी हुन अपरिहार्य छ । सोही कारण यो प्रणालीको विकास गरिएको तिवारीको भनाइ रहेको छ ।

महानिर्देशक तिवारीले भने, ‘जसरी हरेक नेपालीको गतिविधि राज्यलाई थाहा हुनुपर्छ, त्यसरी नै नेपाल आउने विदेशीको बारेमा चासो सरकारले राखेको हो । उनीहरुलाई स्वतन्त्रता छ भन्दैमा राज्यलाई थाहा हुनु पर्दैन भनेको होइन, राज्यले चासो नराख्नुपर्ने ठाँउमा राख्न पाउँदैन । तर राख्नुपर्ने ठाउँमा राख्नुपर्‍यो । कोही मान्छे चुकुल लगाएर कोठामा पसे पछि, यो कोठामा छिरेको थियो भन्ने सम्म सरकारले हेर्न पाउँछ, चुकुल लगाएर छिरे पछि मैले अपराध गर्दा सम्म राज्यले हेर्न पाउँदैन । म त्यहाँ कसरी सुत्छु, कस्तो लुगा लगाएर सुत्छु भनेर हेर्न नपाउने मात्र हो । फलानो होटलमा छिरेको थियो भन्ने राख्न त राज्यले अहिले पनि अनिवार्य नै गरेको छ, पहिचान सहितको राख्नुपर्छ भनिएको छ । त्यसो हुँदा अब हामी कहाँ अब कुनै विदेशी पनि विदेशी नेपाल आए पछि हामीले जनावरी १ देखि ‘एकोमोडेसन’ अनिवार्य घोषणा गर्नु पर्नेछ ।’

विभागले यो प्रणालीबारे जानकारी दिन आयोजित छलफलमा ‘नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स ऐजन्ट्स’ की वरिष्ठ उपाध्यक्ष तेजश्वी तुलाधरले आफूले पनि यो प्रणालीको बारेमा पर्यटकहरुलाई बुझाउने बताइन् । उनले यो प्रणाली लागू गर्दा विदेशी पर्यटकको जानकारी राख्न समेत सघाउ पुग्ने बताइन् । उनले अध्यागमनमा सुधारको खाँचो समेत रहेको बताइन् । तुलाधरकाअनुसार दुबईसहित विदेशी मुलुकहरुले पर्यटकहरुलाई फ्रिमा सिम दिने गर्छन्, त्यो व्यवस्था नेपालमा समेत अध्यागमनबाटै मिलाउँदा उनीहरुको अवस्था बुझ्न सहज हुनेछ ।

वरिष्ठ उपाध्यक्ष तुलाधरले भनिन्, ‘मेरो बुझाइअनुसार सरकारले लागू गर्न लागेको यो प्रणाली ट्रयाकिङ नै हो । मेरो विचारमा यो गलत होइन किनभने यसले टुरिस्टको पनि सेफ्टि हुनेछ र हामीलाई डेटाहरु संकलन गर्न सघाउ पुग्नेछ । त्यो काम राम्रो छ । हामी कहाँ जुन पर्यटक आउँछ, पर्यटक आउँदा उहाँहरुलाई प्रणालीबारे जानकारी गराइएन भने यो डेटा लिन गाह्रो हुन्छ ।’

नेपाल यातायात व्यावसयी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले व्यवस्थित यातायात प्रणालीको विकास हुन जरुरी रहेको बताए । स्वारले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्न सरकारले होटल, एयरलाइन्स लगायतका क्षेत्रसँग पनि समन्वयन गर्नुपर्नेमा जोड दिए। अध्यक्ष स्वाँरले भने, ‘यातायात व्यवसायीहरुलाई नागरिक तह र राज्यबाट दोषी पात्रको रुपमा हामीलाई हेरिन्छ, त्यो हामी स्वीकार्छाैं, किनभने म्यानेजमेण्ट सिस्टम राम्रो छैन । सार्वजनिक यातायात अहिले पनि व्यवस्थीति हुन सकेको छैन, तरपनि सुधारिकरणमा हामी लागि रहेका छौं । अर्को कुरा अहिले अध्यागमनले जुन सिस्टम लागू गर्न खोजेको छ, यो राम्रो छ ।’

होटल एशोसिएशन नेपालका महासचिव साजन शाक्यले सरकारले लागू गर्न लागेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ जनवरी १ देखि कार्यान्वयन गर्न कठिन हुने बताउँदै थप समय आवश्यक पर्ने बताए । उनकाअनुसार स्टार होटलहरू पर्यटन विभागमा दर्ता भएकाले कार्यान्वयन सहज देखिए पनि सरकारी नीतिबारे पर्याप्त छलफल पुग्न सकेको छैन ।

शाक्यले भने, ‘जनावरी १ देखि लागू गर्ने भनिएको छ स्टार होटलहरुमा । अब यो चाहीँ स्टार होटलहरुको पर्यटन विभागमा दर्ता नै छ, त्यो चाहीँ अलिकति सहज नै होला, अरु तिर लागू गर्न अलिकति होमवर्क गर्दा राम्रो होला । आउने आर्थिक श्रावण १ गतेबाट गर्दा उपयुक्त होला ।’ विभागले २०८२ पुस १७ गतेबाट उपत्यकाका तारे होटलहरुमा यसको पहिलो चरणको लागू गर्ने र २०८२ फाल्गुन १७ बाट देशभरका होटल, एयरलाइन्स, होमेस्टे, ट्रेकिङ कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेन्जर कम्पनी तथा अन्य सबै सेवा प्रदायकहरुमा यसको अनिवार्य लागू गर्ने बताएको छ ।

 

नाउपा नेपालले मुक्त कमैयालाई राष्ट्रियसभाको उम्मेदवार बनाउने

कैलाली । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालले पनि माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार खडा गर्ने भएको छ । चौधरीका अनुसार कमैया आन्दोलनकी अगुवा तथा मुक्त कमैया वार्ता टोली सदस्य हेमादेवी चौधरीलाई उम्मेदवार बनाउने तयारी गरिएको हो । उनी टिकापुर जिवनगर शिविरकी हुन्।

‘हामीले कमैयाले मुक्ति पाएर मात्रै हुँदैन उनीहरूको अधिकार स्थापना गर्दै राज्यसत्तामा उहाँहरूको पहुँच हुनुपर्छ भन्दै आइरहेका छौँ’, चौधरीले भने, ‘नीति निर्माण गर्ने ठाउँमा उहाँहरूलाई पुराउनु पर्छ भनेरै मुक्त कमैयालाई उम्मेदवार बनाउन लागेका छौँ ।’ २०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिनेछ । १९ जनामध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । बाँकी १८ पदका लागि निर्वाचन हुनेछ । १८ रिक्त पदका लागि निर्वाचन हुन लागेको हो । कोशी प्रदेशबाट तीन, मधेश प्रदेशबाट चार, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट दुई–दुई तथा लुम्बिनी प्रदेशबाट तीन जना निर्वाचित हुनेछन् ।

निर्वाचनको लागि पुस २३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । निर्वाचन आयोगका अनुसार पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । सोही दिन उम्मेदवारी दिनेगरी अन्य दलहरूसँग पनि छलफल भइरहेको उनले बताए । ‘हामीले उम्मेदवार उठाउन मात्रै लागेका छैनौँ उहाँलाई जिताउने पनि हो ’ उनले भने ‘हाम्रो मतले मात्रै जित्न सक्नु हुन्न, त्यसैले गठबन्धनको तयारी गरिरहेका छौँ ।’ उनले माओवादी काङ्ग्रेससहितका दलहरूसँग चुनावी तालमेलको संवाद भइरहेको समेत जानकारी दिए ।

सरकार उल्टो बाटो हिँड्दैछ, राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौं : दुर्गा प्रसाईं

काठमाडौं । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जान आग्रह गरेका छन् । आफूले अन्तरिम सरकारसँग विभिन्न बुँदामा मागहरु राखेको उल्लेख गर्दै वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जान आग्रह गरेका हुन् । उनले लडाईं नचाहने हो भने जनमत संग्रह नै अन्तिम विकल्प रहेको बताए ।

नेपाल जोगाइराख्ने बाटो बनाउनु सबैको दायित्व भएको बताउँदै गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि यसबारे कुरा भएको र गृहमन्त्री आफूहरुका मागप्रति सकारात्मक रहेको बताए । आफूहरुका माग नेपाल टुक्राउने खालका नरहेको भन्दै माग पूरा हुनेमा ६० प्रतिशत विश्वस्त रहेको बताए । यदि सरकारले आफूहरुका माग पूरा नगरे आन्दोलन नै अन्तिम विकल्प हुने चेतावनी दिए । अन्तरिम सरकारले भ्रष्टाचारीलाई पनि कारबाही गर्न नसकेको र जेन–जीलाई टेकेर बनेको सरकारले जेन–जीहरुलाई नै थुनिरहेको उल्लेख गर्दै सरकार उल्टो बाटोमा रहेको बताए । जेन–जी विद्रोहीलाई थुन्न नहुने उनको भनाइ छ ।

उनले भने, ‘हामीले किराँत बौद्धसहितको वैदिक सत्य सनातन हिन्दु धर्म, राजसंस्था र प्रदेश एवं प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जाऔँ भनेका छाैं । ल तपाईंहरु लडाईं चाहनु हुँदैन भने जनमत संग्रहमा जाऔँ । हामीले नेपाल जोगाइराख्ने बाटो बनाइदिउँ । मेरा माग नेपाल बेच्ने माग छैनन्, नेपालीहरुको माग छ । नेपाल टुक्राउँ भन्ने माग छैन । गृहमन्त्री पोजेटिभ हुनुहुन्छ । म सरकारले माग पूरा गर्नेमा ६० प्रतिशत विश्वस्त छु ।’

उनले भने, ‘माग पूरा नभए आन्दोलन छँदैछ नि । चित्त नबुझ्नेले आन्दोलन गर्ने हो । यी माग पूरा भएनन् र चित्त बुझेन भने त आन्दोलन गर्छौं । उहाँहरुले भ्रष्टाचारीलाई पनि कारबाही गर्न सक्नु भएन । जुन जेनजीलाई टेकेर सरकारमा जानुभयो आखिर त्यही जेनजीलाई थुनेको छ । उहाँहरु उल्टो बाटोमा हिँड्नु भएको छ । जेन–जी विद्रोहीलाई थुन्नु भएन ।’ उनले २३ र २४ गतेको आन्दोलन गर्नेहरुलाई थुन्नु नहुने उनको भनाइ छ । राष्ट्र जोगाउने भए सबैले आफूलाई साथ दिन पनि आह्वान गरे ।

 

धोबीखोलामा मृत भेटिएका व्यक्तिको खुल्यो पहिचान

काठमाडौं । काठमाडौंको धोबीखोलामा मृत भेटिएका पुरूषको पहिचान खुलेको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मृत भेटिएका व्यक्ति काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ घर भई हाल शंखमुल बस्दै आएका ५० वर्षीय ललित गिरी रहेको खुलेको हो ।
उनकी श्रीमतीले शव सनाखत गरेकी हुन् । काठमाडौं महानगरपालिका–२९ रूद्रमति पुल मुनिको धोबीखोलामा बिहीबार बिहान ६ः५० बजे उनको शव फेला परेको थियो ।

शव नजिकै साइकल पनि भेटिएको थियो । उनी साइकल चलाउँदै गर्दा पुलबाट खसेको हुनसक्ने प्रहरीले जनाएको छ । शवको टाउकोमा चोट छ । पुलबाट खसेर ढुंगामा टाउको ठोक्किएकाले उनको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसबारे थप अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए ।

‘हाम्रो पार्टी नेपाल’ औपचारिक घोषणा हुँदै, खगेन्द्र सुनार प्रमुख अतिथि

काठमाडौं । ‘हाम्रो पार्टी नेपाल’ नामक नयाँ राजनीतिक दल आज औपचारिक रूपमा घोषणा हुँदैछ । राजधानीको बालुवाटारस्थित टी–२१ प्यालेसमा आयोजना हुने समारोहमार्फत दलले आफ्नो विधिवत आरम्भ गर्न लागेको हो । पार्टीका प्रेस संयोजक सोबिन्द्र परियारका अनुसार घोषणा सभाको सम्पूर्ण तयारी पूरा भइसकेको छ र कार्यक्रम आज मध्यान्ह १२ः०० बजे सुरु हुनेछ । दलको घोषणामा सामाजिक अभियन्ता खगेन्द्र सुनार प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन् । लामो समयदेखि सामाजिक न्याय, समावेशी अधिकार, नागरिक सरोकार र जनदबाबका मुद्दामा सक्रिय सुनारकै अग्रसरता र वैचारिक नेतृत्वमा यो दल अघि बढ्न लागेको बुझिएको छ । सुनार नेतृत्वको हाम्रो पार्टी नेपालले आफ्नै निर्वाचन चिन्हबाट चुनाव लड्ने भएको छ ।

सुनारले यसअघि मन्त्री कुलमान घिसिङको अगुवाइमा खोलिएको ‘उज्यालो नेपाल पार्टीकै बलेको चिम चिन्ह लिएर निर्वाचनमा जान निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर कानुनी लगायतका जटिलताको कारण देखाउँदै पार्टीले आफ्नै निर्वाचन चिन्ह लाइक लिएर चुनाव लड्न पुनः आयोगमा निवेदन दिएको हो । एकल चुनाव चिन्ह लिएर निर्वाचनमा जाँदा धेरै मत ल्याउने पार्टीले संसदीय दल बनाउने र त्यही पार्टीको ह्वीपसमेत लाग्ने भएकाले आफ्नै चिन्हमा चुनावमा जान लागिएको अध्यक्ष सुनारले जानकारी दिएका छन् ।

कुलमानलक्षित शंकरको कटाक्ष : उज्यालो नेपाल एउटाको योजना, जस अर्कोले पायो, पार्टी तेस्रोले खोले

काठमाडौं । नेपालमा लोडसेडिङ अन्त्यको श्रेय कसलाई जाने भन्ने बहस फेरि चर्किएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् दिएको टिप्पणीले फेरि चर्चा थपेको हो । बुधबार औपचारिक रूपमा घोषणा गरिएको उज्यालो नेपाल पार्टीलाई लक्षित गर्दै पोखरेलले ‘लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले र पार्टी खोल्यो तेस्रोले’ भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन् ।

उनले योजनाको श्रेय अरूले लिएको र उपलब्धिको आधारमा अरूले राजनीतिक लाभ उठाएको आरोप लगाउँदै ‘वास्तविक श्रेय पाउनुपर्ने पक्षलाई कहिले सम्मान गरिने हो ?’ भनेर प्रश्न समेत उठाए । पोखरेलले नाम नलिएको भए पनि उनको टिप्पणी माओवादी केन्द्र र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङतर्फ संकेत भएको बुझिन्छ । लोडसेडिङ अन्त्यमा घिसिङको भूमिकालाई व्यापक रूपमा स्वीकार गरिन्छ भने माओवादी केन्द्रले पनि आफ्नो सरकारकालको पहललाई श्रेय दिने गरेको छ । तर, पोखरेलले एमालेकै योजनाबाट लोडसेडिङ अन्त्यको शुरुवात भएको बताए ।

उनले नेपाललाई लोडसेडिङमुक्त गर्ने योजना एमाले अध्यक्ष केपी शर्मा ओलीको भएको दाबी गर्दै आएका छन् । पोखरेलले ७ मंसिर २०८१ मा काठमाडौँको दरबारमार्गमा एमालेले गरेको जागरणसभामा भनेका थिए, ‘केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा नेपालमा १८ घण्टा लोडसेडिङ हुन्थ्यो । आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने योजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा पनि केपी शर्मा ओली रहनु भयो ।’

काठमाडौं धोबीखोलामा एक व्यक्ति मृत भेटिए

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत भेटिएका छन् । मदन भण्डारी कलेज नजिक खोलामा एक व्यक्ति मृत फेला परेका हुन् । मृत व्यक्तिको नजिकै साइकल पनि लडेको देखिन्छ । मृतकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

अस्थिर मधेश : ५१ दिनमै बाहिरिए तीन मुख्यमन्त्री

काठमाडौं । मधेश प्रदेश पछिल्ला तीन महिनादेखि निरन्तर राजनीतिक उथलपुथलमा छ । भदौ २३ गते सुरु भएको जेनजी आन्दोलनपछि सुरू भएको अस्थिरता अझै रोकिएको छैन । यही अस्थिरतामै बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा मन्तव्य राख्दै पदबाट राजीनामा घोषणा गरेसँगै ५१ दिनमा मधेशले तीन मुख्यमन्त्री गुमाएको छ ।

कार्तिक २३ गते राति ठूलो दलको नेताको हैसियतमा एमाले संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गोप्य रूपमा बर्दिबासको एक होटेलमै शपथ गराएकी थिइन् । सर्वोच्च अदालतमा नियुक्ति विवादसम्बन्धी रिट दर्ता भएसँगै २४ घण्टाभित्र विश्वासको मत लिन आदेश आएपछि २२ औँ दिनमै यादवले राजीनामा दिनुपर्‍यो । मन्त्रिपरिषद विस्तार गर्ने अवसर पनि उनलाई मिलेन ।

यसो त माधेशको राजनीतिक संकट यादवसँगै शुरू भएको थिएन । यसअघि असोज २८ गते जनमत पार्टीबाट बनेका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका थिए । जेनजी आन्दोलनबीच उनले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरे पनि पछि फिर्ता लिन खोजेपछि राजनीतिक विवाद झनै चर्किएको थियो । आफ्नै पार्टीले साथ छाडेपछि विश्वासको मत लिनुपर्ने दबाबबीच सिंहले अन्ततः पद छोड्नु परेको थियो । उनी नेतृत्वको सरकार झण्डै १६ महिना टिकेको थियो ।

सिंह बाहिरिएसँगै असोज २९ गते लोसपाका नेता जितेन्द्र सोनल ६ दलको समर्थनमा मुख्यमन्त्री बने । तर कार्तिक २२ गते विश्वासको मत लिन बसेको प्रदेशसभा बैठकमा जनमतका दुई सांसद अनुपस्थित र माओवादीका दुई सांसदले विद्रोह गरेपछि सोनल पनि मतदानअघि नै राजीनामा दिन बाध्य भए । यिनै अस्थिरताबीच संविधानको धारा १६८ (३) अनुसार एमालेले ठूलो दलको नाताले पुनः सरकार गठन गरेपछि प्रदेश दुई भागमा बाँडियो ।

प्रदेश प्रमुख भण्डारी र सभामुख रामचन्द्र मण्डल दुवै एमाले निकट भएको आरोपसहित सातदलीय गठबन्धन सडकदेखि सदनसम्म सक्रिय भयो । घटनाक्रमकै सिलसिलामा संघीय सरकारले सिफारिस गरी भण्डारीलाई पदमुक्त गर्‍यो भने प्रदेशसभाले दुई तिहाइ बहुमतले सभामुख मण्डललाई हटायो । यसबीच १०७ सदस्यीय प्रदेशसभाको अंकगणितले कुनै पनि सरकार स्थिर हुन नसकेको देखायो ।

एमालेसँग २५, कांग्रेससँग २२, जसपा नेपालसँग १९, जनमतसँग १३, माओवादी केन्द्रसँग ९, लोसपासँग ९, एकीकृत समाजवादीसँग ७ र अन्य तीन दलसँग १–१ सांसद मात्र छन् । एमाले नेतृत्वको पछिल्लो सरकारलाई राप्रपा र नागरिक उन्मुक्ति बाहेक अन्य दलले समर्थन नदिँदा बहुमत जुटाउन नसकिएको हो । लगातार तीन मुख्यमन्त्रीले विश्वासको मत पाउने आधार नदेखिएपछि राजीनामा दिनु परेको स्थिति स्वयं प्रदेशको प्रशासनिक काम कारबाहीमै प्रत्यक्ष असर परेको छ।

मातहतका निकाय निष्क्रिय जस्तै हुँदा विकास योजना र निर्णय प्रक्रिया अवरुद्ध बनेका छन् । अब मुख्यमन्त्री पदका लागि पुनः दाबी पेश गर्न प्रदेश प्रमुख सुरेन्द्र लाभले आह्वान गरेसँगै मधेशको सत्ता समीकरण फेरि एक पटक नयाँ मोडतर्फ उन्मुख भएको छ। तर दलहरूमै एकमत नबन्दा प्रदेश अझ कति समय अनिश्चयमा रहने हो, यसले मधेशको राजनैतिक स्थिरता कता पुग्छ भन्ने प्रश्न भने झन् गहिरिँदै गएको छ।

अधिवक्ता सुलभ खरेल एमालेको रिटमा नियुक्त नभएको स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित केही समाचार असत्य रहेको भन्दै औपचारिक रूपमा खण्डन गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा अधिवक्ता सुलभ खरेल बहसका क्रममा ‘‘न्यायाधीशको प्रश्नले इजलासमै ढलेकै’ दाबी गर्दै प्रकाशित खबरहरू पूर्णरूपमा भ्रमपूर्ण भएको नेता बर्तौलाको भनाइ छ ।

बर्तौलाका अनुसार अधिवक्ता सुलभ खरेललाई एमालेले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आफ्नो तर्फबाट बहसका लागि अधिवक्ता नियुक्त नै गरेको थिएन । उनले भनेका छन्, ‘खरेल ज्यूलाई यस रिटमा पेशीका अधिवक्ता बनाइएको थिएन, त्यसैले अनलाइनहरूमा लेखिएझैं उनी एमालेको तर्फबाट बहसका क्रममा ढले भन्ने कुरा वास्तविकतासँग मेल खाँदैन ।’

नेता बर्तौलाले स्पष्ट पारेअनुसार, सुलभ खरेल सो दिन संवैधानिक इजलासमा उपस्थित भए पनि उनी पूणरूपमा अर्को मुद्दाको बहसका क्रममा मात्र इजलासमा आएका थिए । उनले सम्बन्धित आफ्नै मुद्दाको बहस सकेपछि मात्रै एमालेको तर्फबाट दायर गरिएको रिटको बहस सुरु भएको थियो । बर्तौलाले तथ्यविपरीत प्रचार गरिएका समाचारले व्यक्तिको पेशागत प्रतिष्ठामा आघात पुग्ने भएकाले यथाशीघ्र सो समाचार सच्याउन सञ्चारमाध्यमहरू समक्ष आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘अनलाइनमा देखिएका भ्रामक विवरणहरूले वास्तविक कार्यवाही र नियुक्तिबारे गलत बुझाइ फैलाएको छ । त्यसैले सत्यतथ्यको सम्मान गर्दै सञ्चारमाध्यमहरूले परिमार्जन तथा सच्याइएको समाचार प्रकाशन गर्नु आवश्यक छ ।’ एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध दायर गरेको रिटको बहस संवैधानिक इजलासमा निरन्तर चलिरहेको छ र पार्टीका आधिकारिक अधिवक्ताहरू निर्धारित क्रमअनुसार बहस गर्दै आएका छन् ।

सर्वोच्चले प्रतिनिधि सभा विघटन प्रकरणमा सरकारलाई माग्यो सात दिनभित्र जवाफ

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी नेकपा (एमाले) ले दायर गरेको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइपछि अदालतले सरकारलाई ‘कारण देखाउनू’ भनिएको आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा बसेको पाँच सदस्यीय संवैधानिक इजलासले बुधबार प्रतिवादी पक्षलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो । यससँगै, प्रतिनिधि सभा विघटनविरुद्ध यसअघि दर्ता भई विचाराधीन रहेका अन्य रिटहरूसँग वर्तमान रिटलाई एकैसाथ अध्ययन र सुनुवाइका लागि राख्न सर्वोच्च अदालत प्रशासनलाई पनि आदेश गरिएको छ ।

एमालेले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गरिदिन माग गरिएको थियो । तर संवैधानिक इजलासले तत्कालीन रूपमा अन्तरिम आदेश नदिई लिखित जवाफ प्राप्त भएपछि मात्र फाइल अघि बढाउने निर्णय गरेको हो ।

बुधबारको इजलासमा प्रधानन्यायाधीश राउतसँगै न्यायाधीशहरू सपना प्रधान, कुमार रेग्मी, हरिप्रसाद फुयाल र डा. मनोजकुमार शर्मा सहभागी थिए । प्रतिनिधि सभा विघटन विरुद्धको रिट तत्कालीन प्रतिनिधि सभा संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौला र सचेतक सुनिता बरालले दायर गरेका हुन् । यो आदेशसँगै प्रतिनिधि सभा विघटनको संवैधानिकताबारे पुनः बहस तीव्र हुने अनुमान गरिएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा स्वीकृत भएको छ। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवले राजीनामा दिएकोमा त्यसलाई स्वीकृत गरेका हुन्।

बुधबार मुख्यमन्त्री यादवले सर्वोच्च अदालतको परमादेश अनुसार विश्वासको मत लिनका लागि प्रदेश सभा बैठक बोलाएकोमा विश्वासको मत पाउने अवस्था नदेखेपछि रोष्टमबाट राजीनामा घोषणा गर्दै नेपालको संविधानको धारा १६९ को उपधारा १ को खण्ड (क) अनुसार राजीनामा दिएका थिए।

यादवले दिएको राजीनामालाई प्रदेश प्रमुख कर्णले स्वीकृत गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिएका हुन्। उनका अनुसार प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६९ को उपधारा ३ बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको छ।

प्रदेश प्रमुख कर्णले अब सर्वोच्च अदालतको परमादेशअनुसार नै नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्।

करिव १५ लाख अफगानहरू गम्भीर अशक्तताका साथ बाँचिरहेका छन् : राष्ट्रसङ्घ

काबुल । अफगानिस्तानमा अनुमानित १५ लाख मानिसहरू गम्भिर अशक्तताका साथ बाँचिरहेको अफगानिस्तानमा सक्रिय संयुक्त राष्ट्र सहायता मिसन (युएनएएमए) ले बुधबार बताएको छ । मुलुकमा व्याप्त दशकौंको द्वन्द्वका कारण यस्तो समस्याको सामना गर्न बाध्य भएको मिसनले जनाएको छ ।

सामाजिक सञ्जाल एक्समा गरिएको एक पोस्टमा, युएनएएमएले निर्दोश बालबालिकाहरूले द्वन्द्वको कारण अशक्तताको सामना गर्नु परेको उजागर गरेको छ ।

पछिल्लो समयमा अफगानिस्तान विश्वको सबैभन्दा बढी खानी–दूषित देशहरू मध्ये एक बनेको छ भने चार दशक भन्दा लामो द्वन्द्वका कारण बाँकी गोलाबारुद र बारुती सुरुङ्हरूले दैनिक ज्यान लिनुका साथै गम्भीर घाइते हुने गरेको मिसनले जनाएको छ ।

पछिल्लो दुई हप्तामा मात्रै, दक्षिणी प्रान्त कान्दाहार र उरुजगनका साथै उत्तरी बाल्ख प्रान्तमा युद्धका विस्फोटक अवशेषहरूमा भएको विस्फोटमा सात जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् ।

अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनले देशको लगभग एक हजार १५० वर्ग किलोमिटर क्षेत्र बारुती सुरुङ् र युद्धका अन्य विस्फोटक अवशेषहरूले दूषित रहेको जनाएको छ ।

विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४४ रनको योगफल खडा गरेको हो ।

विराटनगरका लोकेश बमले सर्वाधिक ३५ रन बनाए । साम हेजलेटले २७ रन थपे । यी दुईले १५–२ को स्थितिबाट तेस्रो विकेटका निम्ति ५५ रनको साझेदारी गर्दै विराटनगरको इनिङ सम्हालेका थिए ।

बसिर अहमेदले १९ बलमा एक चौका र एक छक्कासहित २८ रन थपे । मर्चेन्ट डी लांगे १० रनमा अविजित रहे ।

विराटनगर किंग्सबाट पहिलो पटक मैदान उत्रिएका चर्चित दक्षिण अफ्रिकी ब्याटर फाफ डू प्लेसिसले १२ रनमात्र बनाउन सके । लुम्बिनीका अभिषेश गौतमले तेस्रो ओभरको अन्तिम बलमा डू प्लेसिसलाई विकेटकिपर निरोशन डिकवेलाबाट स्टम्प गरे । नौ बल खेलेका डू प्लेसिसले दुई चौका प्रहार गरे ।

प्रतिश जिसीले ११ रन बनाए । ओपनर जर्ज मुन्से ‘डक’ भए । नारायण जोशीले पाँच रन थपे । कप्तान सन्दीप लामिछान एक बलमा छक्कासहित ६ रनमा अविजित रहे ।

लुम्बिनीका शेर मल्लले तीन विकेट लिए । चार ओभरको आफ्नो स्पेलमा शेरले विराटनगरका जर्ज मुन्से, नारायाण जोशी र साम हेजलेटलाई पभेलियनको दिशा देखाए । योसँगै शेर एनपीएलमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा आएका छन् । शेरसँगै सुदूरपश्चिमका अभिनाश बोहराले समान ११ विकेट लिएका छन् ।

रुबेन ट्रम्पेलमन, अभिषेश गौतम र जेजे स्मिथको नाममा समान एक विकेट रह्यो ।

प्रतियोगितामा आज विराटनगर पाँचौँ जितको खोजीमा छ । विराटनगरले यसअघि पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको, काठमाण्डू गोर्खाजविरुद्ध पाँच विकेटको र जनकपुर बोल्ट्सविरुद्ध नौ रनको जित निकालेको थियो । चौथो खेलमा चितवन राइनोजसँग ४८ रनले पराजित भएको विराटनगरले पाँचौँ खेलमा कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको थियो ।

यता, प्रतियोगिताको प्लेअफ सम्भावना बलियो बनाउन लुम्बिनी जितको दबाबमा छ । यसअघि पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको लुम्बिनीले त्यसपछिका तीन खेलमा लगातार हार बेहोरेको थियो । लुम्बिनीले दोस्रो खेलमा कर्णालीविरुद्ध नौ विकेटको, तेस्रो खेलमा काठमाण्डूविरुद्ध २२ रनको र चौथो खेलमा सुदूरपश्चिमविरुद्ध सात विकेटको हार बेहोरेको थियो । पाँचौँ खेलमा भने लुम्बिनीले पोखरा एभेन्जर्सविरुद्ध तीन विकेटको जित निकालेको थियो ।

सन् २०२७ सम्ममा रूसी ग्यासमा प्रतिबन्ध लगाउने युरोपियन युनियनको तयारी

ब्रसेल्स(बेल्जिएम) ।  युरोपेली युनियनका सांसद तथा सदस्य राष्ट्रहरूले सन् २०२७ सम्ममा युरोपेली युनियनमा रूसी ग्यासको आयातमा प्रतिबन्ध लगाउने सम्झौतामा सहमति जनाएका छन् ।

यो सम्झौताले सदस्य राष्ट्रहरू र युरोपेली संसद बिचको सयुक्त प्रयासलाइ सफल बनाएको छ जसले प्रतिबन्ध चाँडै लगाउन चाहान्थ्यो ।

युरोपेली परिषद्को अध्यक्षतामा युरोपेली संसदका प्रतिनिधिहरूले रूसी प्राकृतिक ग्यासको आयातलाई चरणबद्ध रूपमा हटाउन सम्झौतामा पुगेको युरोपेली परिषद्ले एक विज्ञप्ति मार्फत जनाएको छ ।

यस सम्झौताकोे उद्देश्य “युरोपेली ऊर्जा बजारमा महत्वपूर्ण प्रभाव पार्ने ग्यास आपूर्तिको रूस शस्त्रीकरणपछि रूसी ऊर्जामा निर्भरता अन्त्य गरेको विज्ञप्तीमा उल्लेख छ ।

दीर्घकालीन सम्झौतामा प्रतिबन्ध सन् २०२७ नोभेम्बर–१ देखि पाइपलाइनद्वारा ल्याएको ग्यासका र सन् २०२७ जनवरी–१, देखि तरलीकृत प्राकृतिक ग्यास (एलएनजी)को लागि लागू हुने जनाइएको छ ।

छोटो अवधिका लागि सन् २०२६ अप्रिल–२५ देखि एलएनजी र सन् २०२६ जुन–१७ देखि पाइपलाइन ग्यासमा प्रतिबन्ध लगाइएको छ ।

गाजनहरुलाई आगामी दिनमा इजिप्ट जान अनुमति दिने तयारीमा इजरायल

जेरुसेलम ।  इजरायलले गाजाबाट इजिप्ट जाने राफाह सिमा नाका खोली गाजाका बासिन्दाहरूलाई प्यालेस्टिनी क्षेत्रबाट बाहिर निस्कन अनुमति दिने बुधबार बताएको छ ।

“युद्धविराम सम्झौता अनुसार आगामी दिनमा गाजा पट्टीबाट इजिप्ट जाने बासिन्दाहरूका लागि राफाह सिमा नाका खोलि प्यालेस्टिनी क्षेत्रहरूमा नागरिकको निरीक्षण गर्ने इजरायली रक्षा मन्त्रालयको निकाय “कोगाट” ले विज्ञप्ति मार्फत जनाएको छ ।

कोगाटले सिमा ईयूको सीमा सहायता मिसनको सुपरिवेक्षणमा सञ्चालन हुने जनाएको छ । यस अघि पनि “जनवरी २०२५ मा यो सिमा छ हप्ताको युद्धविरामको समयमा छोटो समयका लागि खोलिएको थियो ।

दुई युरोपेली कूटनीतिक स्रोतलाई उदृत गर्दै एएफपीले यस अघि अक्टोबर–१४ मा पैदल यात्रीहरूका लागि सिमा खोल्ने तयारी गरिरहेको जनाएको छ ।

राफाह सिमा पुनः खोल्नु प्यालेस्टिनी क्षेत्रका लागि युद्धविराम तथा शान्ति योजनाको एक हिस्सा हो जुन संयुक्त राष्ट्रका एजेन्सीहरू र अन्य मानवीय अभियानताहरुले लामो समय देखि माग गर्दै आएका छन् ।

इजरायली सेनाले सन् २०२४ मे महिनामा सिमाको प्यालेस्टिनी पक्षको क्षेत्र नियन्त्रण लिएको थियो, यसलाई हतियार तस्करीको शङ्काका साथ “आतङ्कवादी उद्देश्यका लागि प्रयोग“ भइरहेको दाबी गरेको थियो ।
यस अघि इजरायल र हमास बीचको युद्धविरामको समयमा पनि यो सिमा नाका केही समयका लागि खोलिएको थियो ।

राफाह सिमा मानवतावादी कामदारहरू र सहायता, खाना र इन्धन ढुवानीका लागि मुख्य प्रवेश बिन्दु हो भने लामो समय देखि, गाजाका प्यालेस्टिनीहरूका लागि मुख्य निकास बिन्दु थियो ।

पुटिनको शान्ति–अनिच्छा आरोपबीच क्रेमलिन–अमेरिकी दूत वार्ता निष्फल

किएभ । अमेरिकी दूतहरूसँग पाँच घण्टासम्म क्रेमलिनमा चलेको वार्ताले कुनै प्रगति नदेखाएपछि युक्रेनी तथा युरोपेली अधिकारीहरूले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति प्रयासप्रति चासो नदेखाएको आरोप लगाएका छन् । यद्यपि, वार्ता भने आगामी दिनमा निरन्तर जारी रहने अपेक्षा गरिएको छ ।

युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले पुटिनले ‘विश्वको समय बर्बाद गर्न बन्द गर्नुपर्ने’ कठोर टिप्पणी गरेका छन् । यसैगरी, बेलायतका विदेशमन्त्री यभेट कुपरले पनि पुटिनलाई ‘ब्लस्टर र रक्तपात अन्त्य गर्दै न्यायपूर्ण र दीर्घकालीन शान्तिका लागि वार्ता टेबलमा आउन तयार हुन’ आग्रह गरेका छन् ।

मङ्गलबार मस्कोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ जारेड कुशनरसँग पुटिनले भेटवार्ता गरेका थिए । जनवरीमा ट्रम्प पुनः पदमा फर्किएपछि उहाँले शान्ति सम्झौता वार्तामा देखिएको असहजतालाई तोड्न यो भेट अर्को प्रयासका रूपमा हेरेको वासिङ्टनको तर्क छ ।

रूसी र अमेरिकी पक्षबीच वार्ताको संवेदनशील विषयवस्तु गोप्य राख्ने सहमति भए पनि प्रमुख अड्को भने त्यही रहेको छ—फेब्रुअरी २०२२ को आक्रमणपछि रुसले कब्जामा राखिरहेको युक्रेनी भूभाग उसैका लागि कायम रहने कि न रहने ।

पुटिनका वरिष्ठ सल्लाहकार युरी उसाकोभले क्षेत्रीय मुद्दामा ‘अहिलेसम्म कुनै सहमति भएको छैन’ भन्दै क्रेमलिनलाई हालको सङ्कटको कुनै छिटो समाधान देखिन नसकेको टिप्पणी गरेका छन् । युक्रेनले पनि कब्जा गरिएका भूभाग कुनै हालतमा नछोड्ने दृढतामा अडिग रहँदै आएको छ ।

उसाकोभका अनुसार अमेरिकी टोलीसँगको संवाद ‘बरु उपयोगी, रचनात्मक र ठोस’ रह्यो । तर, अमेरिकी शान्ति प्रस्तावका ‘विशिष्ट शब्दहरू’ अझै छलफलको चरणमै रहेको उनको भनाइ थियो ।

वार्ताअघि नै पुटिनले युरोपेली मुलुकहरूमाथि शान्ति प्रयास विफल बनाउन खोजेको आरोप लगाउँदै कडा चेतावनी दिएको थियो । ‘हामी युरोपसँग लड्न चाहँदैनौँ, तर यदि युरोप आफूले नै युद्ध सुरु गर्न चाहन्छ भने हामी पूर्ण रूपमा तयार छौँ’ भन्ने उहाँको टिप्पणीले करिब चार वर्षदेखि जारी युद्ध रोक्ने प्रयासमा अझ तनाव थपिएको थियो ।

– युरोपेली सहयोग थप सुदृढ –

ब्रसेल्समा बसेको युरोपेली नाटो देशका विदेशमन्त्रीहरूको बैठकमा पुटिनप्रति धैर्य लगभग समाप्त भएको सङ्केत देखियो ।

एस्टोनियाका विदेशमन्त्री मार्गस साहकनाले ‘पुटिनले कुनै मार्ग परिवर्तन नगरी उल्टै युद्धभूमिमा थप आक्रामकता देखाइरहेको’ आरोप लगाउँदै ‘उनी शान्ति नै चाहदैनन्’ भन्ने टिप्पणी गरेका छन् ।

फिनल्यान्डकी विदेशमन्त्री एलिना वाल्टोनेनले पनि रुसबाट ‘कुनै छुट वा लचकता नदेखिएको’ भन्दै पूर्ण युद्धविराम नै विश्वास निर्माणको प्रारम्भिक आधार हुनुपर्ने बताएका छन् ।

नाटोका महासचिव मार्क रुटले युक्रेनका साझेदार राष्ट्रहरूले मस्कोमाथि दबाब कायम राख्दै सैन्य सहयोग बढाउँदै जाने स्पष्ट पारेका छन् । “शान्ति वार्ता चलिरहनु सकारात्मक हो, तर वार्ता कहिले निष्कर्षमा पुग्छ भन्ने अनिश्चितताबीच युक्रेन सबैभन्दा बलियो अवस्थामा रहनु आवश्यक छ”, उनले भने ।

क्यानाडा, जर्मनी, पोल्यान्ड र नेदरल्यान्ड्सले युक्रेनलाई प्रदान गर्न अमेरिकी हतियार खरिदका लागि करोडौँ डलर खर्च गर्ने घोषणा गरेका छन् ।

गत अगस्टदेखि युरोपेली नाटो मुलुकहरूले ‘पियुआरएल’ नामक वित्तीय संरचनामार्फत युक्रेनका प्राथमिकताका आधारमा अमेरिकी हतियारहरू खरिद गर्दै आएका छन् ।

– रातारात तीव्र आक्रमण, मानव क्षति बढ्दै –

उता, युद्धभूमिमा रुस र युक्रेन दुवैले ड्रोन तथा मिसाइल प्रयोग गरेर अग्रपङ्क्ति पछाडिका क्षेत्रहरूमा एकअर्कामाथि तीव्र आक्रमण जारी राखेका छन् ।

रुसबाट प्रहार गरिएको ड्रोन आक्रमणले युक्रेनको ड्निप्रोपेट्रोभस्क क्षेत्रअन्तर्गत टेर्निभ्का सहरमा दुई जनाको मृत्यु र तीन जनाको घाइते भएको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख भ्लादिस्लाव हाइभानेन्कोले बुधबार जानकारी दिए । आक्रमणले एउटा घर पूर्ण रूपमा ध्वस्त भएको तथा अन्य छवटा क्षतिग्रस्त भएको बताइएको छ ।

युक्रेनी वायु सेनाले रातारात रुसले १११ वटा स्ट्राइक र डिकोय ड्रोन प्रक्षेपण गरेको जनाएको छ ।

यसैबीच, रुसको रक्षा मन्त्रालयले आफ्नो हतियार प्रणालीले १०२ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । खसेका ड्रोनका भग्नावशेषका कारण मस्कोबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको टाम्बोभ क्षेत्रको तेल डिपोमा भीषण आगलागी भएको स्थानीय अधिकारी येभ्गेनी पेरिभिसोभले पुष्टि गरेका छन् ।

धुम्म आकाश, अस्वस्थकर हावा (तस्बिरहरु)

काठमाडौं । उपत्यकामा पछिल्ला दिनमा वायु प्रदूषण तीव्र रूपमा बढ्दै जाँदा आकाश धमिलो देखिन थालेको छ। एक हप्ता अघि सम्म उपत्यकाबाट स्पष्ट देखिने हिमालहरू अहिले देख्न मुस्किल भएको छ । विशेषज्ञहरूका अनुसार मौसमी सुक्खा हावा, निर्माण स्थलबाट उड्ने ठूला धूलो–कण र अत्यन्तै स–साना धुलो–धुवाँका कणको मात्रा बढ्नुले हावा बाक्लिँदै गएको छ।

वायु प्रदूषण मापन सूचकांक (AQI) काठमाडौंका विभिन्न स्थानहरूमा १८०–२५० सम्म पुगेको छ, जुन “अस्वस्थकर” श्रेणीमा पर्छ। यस्तो अवस्थामा सामान्य मानिसलाई समेत असर पर्न सक्छ भने दम, एलर्जी, मुटु र फोक्सोसम्बन्धी समस्या भएका व्यक्तिहरूका लागि जोखिम अझै बढ्न सक्ने विज्ञहरु बताउँछन् ।

PM2.5 कणहरू २.५ माइक्रोनभन्दा साना हुने भएकाले आँखाले देखिँदैनन् तर नाक–फोक्सो हुँदै शरीरभित्र प्रवेश गर्न सक्छन्। यिनै कणहरूको मात्रा अत्यधिक बढ्दा दृश्यता घट्ने, आँखा पोल्ने, घाँटी चिलाउने, थकान बढ्ने र दीर्घकालीन रूपमा फोक्सो तथा मुटु रोगको जोखिम समेत वृद्धि हुन्छ।

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

बेल्जियमद्वारा रूसी सम्पत्ति प्रयोग योजना अस्वीकार

ब्रसेल्स । बेल्जियम सरकारले आगामी दुई वर्षका लागि युक्रेनको आर्थिक र सैन्य आवश्यकतामा सहयोग पुर्‍याउन फ्रिज गरिएका रूसी सम्पत्तिहरू प्रयोग गर्ने युरोपेली सङ्घ (इयु) को प्रस्ताव अस्वीकार गरेको छ । बेल्जियमले यो योजनाले गम्भीर वित्तीय तथा कानूनी जोखिम निम्त्याउने ठहर गर्दै यसलाई अत्यन्त जोखिमपूर्ण कदम भनेको छ ।

युक्रेनले सन् २०२६ र २०२७ का लागि करिब एक खर्ब ३० अर्ब युरो (एक खर्ब ५० अर्ब डलर) बराबरको बजेट र युद्धसम्बन्धी आवश्यकताहरू हुने अनुमान गरेको छ । इयुले यस आर्थिक खाडल पूर्ति गर्ने प्रतिबद्धता जनाइसकेको छ, जसअन्तर्गत सन् २०२२ मा युद्ध सुरु भएदेखि हालसम्म एक खर्ब ७० अर्ब युरो (एक खर्ब ९७ अर्ब डलर) भन्दा बढी व्यय भइसकेको छ ।

फ्रिज गरिएका रूसी सम्पत्तिहरू इयुका लागि सबैभन्दा ठूलो स्रोत मानिन्छ, जसमा सबैभन्दा ठूलो हिस्सा—करिब एक खर्ब ९४ अर्ब युरो—बेल्जियममा अवस्थित छ । जापानमा लगभग ५० अर्ब डलर बराबरको रकम राखिएको छ भने अमेरिका, बेलायत र क्यानाडामा पनि कम मात्रामा फ्रिज गरिएको सम्पत्ति रहेको छ ।

युरोपेली आयोगले बुधबारपछि ‘क्षतिपूर्ति ऋण’ मोडेलमार्फत युक्रेनका अत्यावश्यक आवश्यकताहरू पूरा गर्न यी रूसी सम्पत्तिहरूलाई बन्धकका रूपमा प्रयोग गर्ने प्रस्ताव सार्वजनिक गर्ने तयारी गरेको थियो । तर बेल्जियमका विदेशमन्त्री म्याक्सिम प्रिभोटले ‘क्षतिपूर्ति ऋण’ विकल्पलाई सबैभन्दा खराब र अत्यधिक जोखिमपूर्ण ठहर गर्दै यसले अभूतपूर्व कानूनी विवाद निम्त्याउन सक्ने टिप्पणी गरेका छन् । रुसले यस योजनालाई ‘चोरी’ भनेर आलोचना गर्दै आएको छ ।

ब्रसेल्सस्थित नाटो मुख्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै प्रिभोटले इयुलाई युक्रेनका लागि अन्तर्राष्ट्रिय बजारबाट धन उधारो लिन आग्रह गरेका छन् । “यो परिचित, बलियो र अनुमानित मानकसहितको स्थापित विधि हो”, उनले भने । उनका अनुसार क्षतिपूर्ति ऋणले अत्यन्त संवेदनशील आर्थिक, वित्तीय र कानूनी जोखिम बोकेको छ, र आयोगले प्रस्तुत गरेको प्रस्तावले बेल्जियमका गम्भीर चिन्ताहरू सम्बोधन गर्न सकेको छैन । “हामीलाई मात्र जोखिमको बोझ थोपर्ने प्रबन्ध स्वीकार्य हुँदैन”, प्रिभोटले जोड दिएका छन् ।

ब्रसेल्समा आधारित युरोक्लियर नामक ठूलो वित्तीय समाशोधन संस्थाले रुसले कानूनी चुनौती दिएमा वा उक्त कदमले यसको छवि र व्यापारिक हितमा असर परेमा गम्भीर कानूनी मुद्दाहरू झेल्नुपर्ने स्थिति आउनसक्ने बेल्जियमलाई चिन्ता छ ।

प्रिभोटले आफ्नो चिन्ता अन्य इयु सदस्य राष्ट्रहरूले पर्याप्त रूपमा नबुझेको गुनासो पनि व्यक्त गरेका छन् । “हामी साझेदार वा युक्रेनको विरोधमा छैनौँ । हामी केवल एक सदस्य राष्ट्रका रूपमा सम्भावित विनाशकारी जोखिमबाट जोगिन खोजिरहेका छौँ”, उनले स्पष्ट पारेका छन् ।

इयुले करिब एक खर्ब ४० अर्ब युरो(एक खर्ब ६३ अर्ब डलर)युक्रेनलाई ऋणस्वरूप उपलब्ध गराउने योजना बनाइरहेको छ । यी रकम जफत गरिने छैनन् र रुसले युद्धका कारण तिर्नुपर्ने क्षतिपूर्ति बुझाएपछि किएभले बाँकी ऋण फिर्ता गर्ने व्यवस्था प्रस्तावित छ । तर यदि मस्कोले क्षतिपूर्ति तिर्न अस्वीकार गर्‍यो भने सम्पत्ति यथावत् फ्रिज नै रहनेछ ।

युरोपेली साझेदारहरूले भने बेल्जियमका चिन्ताहरूलाई गम्भीरतापूर्वक लिइएको दाबी गरेका छन् । जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले ‘चिन्ताहरू उचित भए पनि, संयुक्त रूपमा जिम्मेवारी बाँड्ने हो भने समाधान सम्भव छ’ भने । डच विदेशमन्त्री डेभिड भ्यान वेलले ‘यी कोषहरू युक्रेनी अर्थतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण छन्, अन्यथा उनीहरूले आगामी वर्ष अत्यन्त कठिन परिस्थिति सामना गर्नुपर्नेछ’ भन्दै बेल्जियम एक्लै नछोडिने स्पष्ट पारेका छन् ।

बेल्जियमले फ्रिज गरिएका सम्पत्तिबाट केही कर आय पाउँदै आएको छ र उठेको ब्याजलाई जी–७ राष्ट्रहरूको युक्रेनसम्बन्धी ऋण कार्यक्रमका लागि प्रयोग गरिएको छ । तर युरोपेली केन्द्रीय बैंकले भने क्षतिपूर्ति ऋण योजनाले अन्तर्राष्ट्रिय बजारमा युरोपेली मुद्रा यूरोप्रति विश्वास कमजोर पार्न सक्ने चिन्ता व्यक्त गरेको छ ।

इयुका शीर्ष नेताहरूले डिसेम्बर १८ मा ब्रसेल्समा हुने शिखर बैठकमा यस योजना तथा युक्रेनका आर्थिक–सैन्य आवश्यकताबारे विस्तृत छलफल गर्ने अपेक्षा गरिएको छ ।

इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो

जकार्ता ।  इन्डोनेशियाका आचेह, उत्तरी सुमात्रा र पश्चिम सुमात्रा प्रान्तमा आएको भीषण बाढी र पहिरोका कारण मृत्यु सङ्ख्या ८११ पुगेको छ, भने ६२३ जना अझै वेपत्ता रहेको इन्डोनेशियाको राष्ट्रिय विपद् व्यवस्थापन निकायले बुधबार जनाएको छ ।

निकायका अनुसार मङ्गलबार मात्र ४० टन राहत सामग्री प्राप्त भएको छ, जसमा खाद्यान्न, खानेपानी, औषधि तथा उपचार सामग्री समावेश छन् । यी सामग्रीहरू प्रभावित बस्तीहरूमा पठाइने तयारी भइरहेको छ ।

अर्थसम्बन्धी समन्वय मन्त्री एर्लाङ्गा हार्तार्टोले राहत साधनहरूले विपद्ग्रस्त नागरिकप्रतिको सरकारको चिन्ता झल्किने बताएका छन् । उनका अनुसार यस सहयोगले ‘तात्कालिक आवश्यकता पूरा गर्न, उद्धार तथा राहत कार्यलाई छरितो बनाउने र पुनःस्थापनाका प्रयासमा जुटेकालाई बल प्रदान गर्ने’ विश्वास गरिएको छ ।

राष्ट्रपति प्रबोवो सुबियाँतोले पनि प्रभावित जनताको आवश्यकता तत्काल सम्बोधन गर्ने, सामाजिक–आर्थिक पुनर्जीवनलाई छिटो अघि बढाउने तथा क्षतिग्रस्त पूर्वाधारको मर्मत र पुनर्निर्माणलाई सरकारको मुख्य प्राथमिकतामा राखिएको बताएका छन् ।

म्याक्रोनको चीन भ्रमण : व्यापार, कूटनीति र युक्रेन युद्धबारे उच्चस्तरीय वार्ता

बेइजिङ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन व्यापार, कूटनीति तथा युक्रेन–रुस युद्धबारे छलफल गर्न तीन दिने राजकीय भ्रमणका क्रममा बुधबार चीन आइपुगेका छन् । उनले बेइजिङलाई रुसमाथि दबाब दिई युक्रेनमा युद्धविरामको वातावरण बनाउन सहयोगी भूमिका निर्वाह गर्न आग्रह गर्ने अपेक्षा गरिएको छ ।

फ्रान्सेली राष्ट्रपति कार्यालयका अनुसार म्याक्रोनले दुवै पक्षका लागि फाइदाजनक, दिगो र ठोस आर्थिक विकास सुनिश्चित गर्ने उद्देश्यसहित व्यापारिक तथा आर्थिक सहकार्य सन्तुलित गर्ने एजेन्डा अघि सार्ने छन् । फ्रान्सले चिनियाँ लगानी आकर्षित गर्ने तथा फ्रान्सेली उत्पादित सामानका लागि बजार पहुँच सहज बनाउने लक्ष्य पनि राखेको छ । भ्रमणमा ऊर्जा, खाद्य उद्योग तथा उड्डयन क्षेत्रसम्बन्धी धेरै महत्त्त्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर हुने अपेक्षा छ ।

म्याक्रोन ‘निष्पक्ष र पारस्परिक बजार पहुँच’ को पक्षमा दृढ भएर उभिनुभएको फ्रान्सेली अधिकारीहरूले बताएका छन् ।

म्याक्रोन दम्पती बुधबार बिहानै बेइजिङको अत्यन्त जाडोमा विमानस्थल पुगेको थियो । विमानस्थलमा उहाँहरूलाई चिनियाँ विदेशमन्त्री वाङ यीले औपचारिक स्वागत गरेका थिए । विमानबाट ओरालिएपछि रातो गलैँचाबाट हिँड्दै उनिहरू लिमोजिनमा सवार भएका थिए । दिनको अन्त्यमा उनीहरूले नयाँ सजाइएको फरबिडन सिटीभित्र रहेको १८औँ शताब्दीको कियानलोङ गार्डन अवलोकन गर्ने कार्यक्रम छ ।

फ्रान्सले सन् २०२६ मा सातवटा सबैभन्दा विकसित अर्थतन्त्रहरूको शिखर सम्मेलन ९जी–७० को आयोजना गर्दैछ भने चीनले २१ सदस्यीय एपेक फोरम को अध्यक्षता गर्नेछ, जसमा अमेरिका, दक्षिण कोरिया, जापान, अस्ट्रेलिया र रुससमेत सहभागी छन् ।

गत वर्ष मात्र युरोपेली सङ्घ (इयु) ले चीनसँग तीन खर्ब युरोभन्दा बढी व्यापार घाटा बेहोरेको थियो, जसमा फ्रान्सको कुल व्यापार घाटाको ४६ प्रतिशत चीनकै कारण भएको थियो । इयुले चीनलाई साझेदार, प्रतिस्पर्धी तथा प्रणालीगत प्रतिद्वन्द्वी तीनवटै रूपमा व्याख्या गरेको छ ।

यसबीच इयुले चिनियाँ विद्युतीय सवारी साधनमा दिएको सब्सिडीबारे अनुसन्धान थालेपछि दुवैबीच कयौँ व्यापारिक विवादहरू देखा परेका छन् । त्यसको प्रतिक्रिया स्वरूप चीनले युरोपेली ब्रान्डी, सुँगुरको मासु र दुग्ध उत्पादनहरूमा अनुसन्धान थालेको थियो ।

गत जुलाईमा चीनले अधिकांश कोग्नाक उत्पादकलाई दिएको कर–छुटलाई फ्रान्सले सकारात्मक सङ्केतका रूपमा लिएको थियो । फ्रान्स चीनको वाइन र स्पिरिट आपूर्तिकर्तामध्ये पहिलो स्थानमा छ ।

राष्ट्रपति म्याक्रोन र चिनियाँ राष्ट्रपति सी चिनपिङबीचको वार्ताको प्रमुख एजेन्डामा युक्रेन–रुस युद्ध पनि रहनेछ । सोमबार पेरिसमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग युद्धविरामका सम्भावित आधारहरूबारे छलफल गरेपछि म्याक्रोन चीनसँग ठोस सहयोगको अपेक्षामा रहेका छन् ।

फ्रान्सका एक शीर्ष कूटनीतिक अधिकारीका अनुसार पेरिस चीनले रुसलाई सकेसम्म चाँडो युद्धविरामका लागि राजी गराउने प्रयास गरोस् र वार्ताबाट प्राप्त हुने सहमतिको आधारमा युक्रेनका लागि दीर्घकालीन सुरक्षा ग्यारेन्टी निर्माण गर्न मद्दत गरोस् भन्ने चाहन्छ । साथै, बेइजिङले रुसलाई युद्ध जारी राख्न सहयोग पुर्‍याउने कुनै पनि कार्यबाट टाढा रहने अपेक्षा फ्रान्सले व्यक्त गरेको छ ।

यसअघि चीनका विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बेइजिङले सधैँ संवाद, वार्ता र शान्तिपूर्ण समाधानलाई समर्थन गर्दै आएको र युक्रेन सङ्कट समाधानमा ‘रचनात्मक भूमिका’ खेलेको दाबी गरेका थिए ।

म्याक्रोनले बिहीबार ग्रेट हल अफ द पिपुलमा राष्ट्रपति सीसँग भेट् हुनेछ । त्यसपछि दुवै नेता फ्रान्को–चिनियाँ व्यापार मञ्चमा सहभागी हुनेछन् । उनले राष्ट्रिय जनकांग्रेसका अध्यक्ष झाओ लेजी तथा प्रधानमन्त्री ली किआङसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

फ्रान्सेली राष्ट्रपति दम्पती त्यसपछि सिचुआन प्रान्तको चेङ्डु प्रस्थान गर्ने छ । त्यहाँ शुक्रबार राष्ट्रपति सीसँग दुजियाङ्ग्यानको विश्वकै सबैभन्दा पुरानो सिँचाइ प्रणाली अवलोकनस्थलमा विशेष वार्ता हुनेछ । म्याक्रोनले त्यहाँ सिचुआन विश्वविद्यालयका विद्यार्थीहरूसँग पनि भेट हुनेछ ।

चेङ्दु अवस्थित विशाल पाण्डा संरक्षण तथा अनुसन्धान केन्द्रमा अहिले फ्रान्समा जन्मिएको पहिलो पाण्डा युआन मेङ बस्छ, जसको नामकरण प्रथम महिला ब्रिजिट म्याक्रोनले गरेका थिए । फ्रान्सले गत महिना चीनमा १३ वर्ष बसोबास गर्दै तीन छोराछोरी जन्माएका स्टार पाण्डाहरू फिर्ता पठाएको थियो ।

अब देशकै नेतृत्व गर्नुपर्छ जस्तो लागेको छ : कुलमान घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले देश अब विकासको निर्णायक मोडमा पुगेको र आफूलाई पनि राष्ट्रिय नेतृत्व सम्हाल्नुपर्ने सोचबल बढेको बताएका छन् । उज्यालो नेपाल पार्टीको घोषणासभामा प्रमुख अतिथिको रूपमा सहभागी हुँदै उनले विचार परिवर्तनले मात्र देश बन्न नसक्ने, सही नेतृत्व र कार्यक्षमताले मात्र वास्तविक परिवर्तन सम्भव हुने धारणा राखे ।

सम्बोधनका क्रममा उनले अघिल्लो सरकारसँगको मतभेदकै कारण मन्त्री पदबाट बाहिरिनुपरेको प्रसंग स्मरण गर्दै त्यसलाई अवसरका रूपमा लिन सफल भएको बताए । ‘करीब ७–८ महिना सरकारसँग ठूलो झगडा भयो । अवधि सकिन चार महिनामात्र बाँकी हुँदा मैले पद छाड्नुपर्‍यो । त्यसैबेला मैले धन्यवाद दिएको थिएँ— त्यो झगडाकै कारण म मन्त्रीको रूपमा स्थापित भएँ’, उनले भने ।

घिसिङका अनुसार देशमा राजनीतिक परिवर्तन त धेरै पटक भए, तर आर्थिक रूपान्तरणमा देश पछाडि परिरह्यो। २००७ सालयता ७५ वर्षमा नेपालले ७५ गुणा आर्थिक वृद्धि गर्न सके पनि भारतले १५० गुणा र चीनले ३५० गुणासम्मले उछाल ल्याइसकेको तथ्य प्रस्तुत गर्दै उनले नेतृत्व चयनमा भएको कमजोरीलाई प्रमुख कारण बताए ।

‘राजनीतिक परिवर्तनमा हाम्रा नेताहरू सफल बन्नुभयो, तर आर्थिक क्रान्तिमा असफल । ठूलो भाषणले विकास हुँदैन, परिणाममुखी नेतृत्व र दक्ष कार्यशैली चाहिन्छ’, उनले जोड दिए । उनी अब आफूलाई राजनीतिक नेतृत्वकै भूमिकामा सक्रिय हुनुपर्ने धारणा बढिरहेको भन्दै भने, ‘यहाँबाट हिँडेर कता जाने ? अब देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने लागिरहेको छ ।’ उनले नेपालमा क्षमता, स्रोत र सम्भावना प्रशस्त हुँदा पनि सही व्यक्तिलाई सही ठाउँमा जिम्मेवारी नदिँदा विकास रोकिएको टिप्पणी गरे । देशको आर्थिक भविष्य सुनिश्चित गर्न अब परिणाममा केन्द्रित नेतृत्व आवश्यक रहेको उनको भनाइ छ ।

यस्तो छ उज्यालो नेपाल पार्टीको घोषणापत्र (पूर्णपाठ)

काठमाडौँ । काठमाडौँमा आयोजित विशेष कार्यक्रममा कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’ ले आफ्नो स्थापनासँगै पहिलो घोषणापत्र सार्वजनिक गरेको छ । २०८२ सालको ‘नवयुवा (जेनजी) विद्रोह’ लाई आधार मानेर गठन भएको दाबी गरिएको यो नयाँ राजनीतिक शक्तिले देशमा दीर्घकालीन स्थिरता र सुशासन ल्याउन संविधानका मुख्य धारामा संशोधन अपरिहार्य भएको निष्कर्ष प्रस्तुत गरेको छ ।

घोषणापत्रले विद्यमान शासकीय संरचना स्थिर सरकार निर्माण गर्न असफल भएको दाबी गर्दै सात बुँदे संशोधन प्रस्ताव सार्वजनिक गर्छ । पार्टीको अनुसार निर्वाचन प्रणालीमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने गरी सुधार आवश्यक छ । साथै प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र पाँच सदस्यीय मन्त्रिपरिषद् कायम गर्ने प्रणाली अपनाउनु पर्ने उल्लेख छ । प्रदेश सभाको संरचना हटाएर स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुने ‘प्रदेश परिषद्’ मार्फत प्रदेश स्तरीय ऐन पारित गर्ने व्यवस्था पनि प्रस्तावित छ ।

सङ्घीयताको मूल भावना कायम राख्दै देशको भूगोल र आर्थिक क्षमता हेरेर प्रदेश तथा स्थानीय तहको संख्या पुनरावलोकन गर्नुपर्ने पार्टीको धारणा छ । शासकीय सुधारका क्रममा सांसद नभएका विशेषज्ञलाई मन्त्री बनाउन सकिने प्रावधान आवश्यक देखाइएपनि परराष्ट्र, गृह, कानून र रक्षा मन्त्रालयको नेतृत्व भने निर्वाचित सांसदलाई मात्र दिनुपर्ने उल्लेख गरिएको छ । घोषणापत्रले न्यायपालिकामा देखिने दलीय प्रभाव अन्त्य गर्न न्यायपरिषद् पुनर्संरचनाको पक्ष लिन्छ ।

स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा गर्नुपर्ने मागसहित राजनीतिक स्थिरता सुनिश्चित गर्न प्रधानमन्त्री निर्वाचित भएसँगै संसद्को आधा कार्यकाल सरकार चलाउने ग्यारेन्टी रहने व्यवस्था अनिवार्य हुनुपर्ने अडान राखिएको छ । एउटै क्षेत्रमा तीनपटक निरन्तर उम्मेदवारी दिन नपाइने व्यवस्था र समानुपातिक तथा मनोनीत सांसदलाई एक कार्यकालसम्म मात्र सुविधा दिने प्रावधान पनि प्रस्तावित छन् । घिसिङ नेतृत्वमा ‘चिलिमे मोडल’ र लोडसेडिङ अन्त्य अभियानलाई प्रेरणाको स्रोत बताउँदै पार्टीले आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई मुख्य लक्ष्य बनाएको छ ।

राज्यको क्षमता वृद्धि गर्दै गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यलाई राज्यको जिम्मेवारी बनाउने र स्वदेशी पुँजी परिचालन गरी रोजगारी सिर्जना गर्ने योजना घोषणापत्रमा समावेश छ । पुराना दलहरूले जनमुखी शासनमा असफल भएको आरोप लगाउँदै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने र अवैध सम्पत्ति जफत गर्ने कठोर नीति अख्तियार गर्ने घोषणा गरिएको छ । जेनजी आन्दोलनलाई संस्थागत गर्ने उद्देश्यले स्थापना भएको दाबी गरेको पार्टीले स्वदेश तथा विदेशमा रहेका सक्षम, इमानदार र मेधावी नेपालीहरूलाई खुलेर सहभागी हुन आह्वान गरेको छ । पार्टी संरचना चुस्त, प्रविधिमैत्री र उत्कृष्टताका आधारमा नेतृत्व छनोटको प्रणालामा आधारित हुने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।
पूर्णपाठ

 

पुराना पार्टी होइनन्, व्यक्ति खराब हुन् : किशोरी कार्की

काठमाडौँ । जेनजी अगुवा किशोरी कार्कीले पुराना पार्टी खराब नभई पार्टीमा आबद्ध व्यक्तिहरू खराब रहेको बताएकी छन् । ‘पुराना सोच त्यागेर सबै जेनजी एक भयौ भने नयाँ नेपाल बनाउन सकिन्छ’, उज्यालो नेपाल पार्टीको घोषणा सभालाई बुधबार सम्बोधन गर्दै कार्कीले भनिन्, ‘पुराना पार्टी पनि खराब होइनन्, व्यक्ति खराब हुन् ।’ उनले पार्टीभित्र पनि कतिपय व्यक्तिहरू ग्राउन्ड नपाएर परिश्रम गरिरहेको भन्दै युवाहरूलाई अवसर दिनुपर्नेमा जोड दिइन् ।

सुमनाले भनिन्–म एकता अभियानमै छु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेकी नेतृ सुमना श्रेष्ठले आफू एकता प्रक्रियाको अभियानमा रहेको बताएकी छिन् । बुधबार उज्यालो नेपाल पार्टीको घोषणासभामा पुगेकी उनले यसबारे प्रष्ट पारेकी हुन् । उनले आफू पछिल्लो समय नयाँ राजनीतिक दलहरूको पक्षमा रहेको बताइन् । ‘सुमना कहाँ छ भनेर सोध्ने गरिएको छ । म एकतामा छु,’ उनले भनिन् । रास्वपा छोडेपछि उनी उज्यालो नेपाल पार्टी निर्माण प्रक्रियामा पनि सामेल भएकी थिइन् ।

बुधबार ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’ घोषणा सभामा विशेष अतिथिका रूपमा बोल्दै उनले वैकल्पिक शक्तिहरू विभाजित नभई एकढिक्का हुनुपर्ने बताइन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको दूरी बढेपछि उनी कता छिन् भन्ने चासो सर्वत्र रहेका बेला उनले मञ्चबाटै यसको जवाफ दिएकी हुन् । सुमनाले नयाँ र परिवर्तनकारी शक्तिहरू अलग–अलग बाटोमा हिँड्दा त्यसको फाइदा पुराना दल र प्रवृत्तिका नेतृत्वलाई पुग्ने चेतावनी दिइन्।

‘धेरैले सोध्छन् ‘सुमना कहाँ छ ?’ सुमना कहाँ छ, सुमना कहाँ छ… म भन्छु– सुमना एकतामा छ,’ उनले भनिन्, ‘यदि हामी फरक–फरक बाटोमा हिँड्ने हो भने पुराना पार्टीहरूलाई फेरि रेड कार्पेट ओछ्याएर ‘आउनुस्, देश लुट्नुस्’ भनेर बोलाए जस्तै हुन्छ ।’ हातका औँलाहरू छुट्टाछुट्टै हुँदा कमजोर हुने तर मुट्ठी बनेपछि शक्ति प्राप्त हुने उदाहरण दिँदै उनले भनिन्, ‘जब यो मुट्ठी बन्छ, त्यतिबेला मात्रै हामी पावरफुल हुन्छौँ । होइन, छुट्टाछुट्टै फरक–फरक बाटोमा सबैजना जाने हो भने फेरि देशले दुःख पाउँछ ।’

अन्तिममा उनी यो पार्टीमा भने सहभागी भइनन् । तर नयाँ पार्टीहरूबीच एकता आवश्यक रहेकोमा उनले जोड दिइन् । नयाँहरू नमिल्ने हो भने भने पराना पार्टी नै आउने भएकाले एकता गर्न सबैलाई उनले आग्रह गरिन् । घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टीको घोषणा सभामा सुमना श्रेष्ठ पनि पुगेकी हुन् । रास्वपा छोडेर हाल स्वतन्त्र रहँदै आएकी उनी प्रज्ञा प्रतिष्ठानमा चलिरहेको घोषणा सभामा पुगेकी हुन् । उनी पनि संलग्न रहेर पार्टी बनाउने विषयमा यसअघि धेरै चरणमा कुराकानी भएको थियो । तर श्रेष्ठसँग कुरा मिलेको थिएन । उनी शुभकामना दिनका लागि मात्र सभामा पुगेकी हुन् कि दलकै सदस्यको रुपमा आउने हुन् खुलिसकेको छैन ।

उनलाई अतिथिका रुपमा मञ्चमै आसनग्रहण गराइएको गराइएको छ । कुलमान घिसिङले पार्टी खोल्ने तयारी गर्दैगर्दा उनी कुलमानको पार्टीमा सहभागी हुने बताइएको थियो । पछि पार्टीको नाममा चित्त नबुझेको भन्दै उनी उक्त पार्टीमा नरहने खबर बाहिरिएको थियो । निर्वाचन आयोगमा अध्यावधिक भएको पार्टी पदाधिकारीको सूचीमा समेत उनको नाम उल्लेख थिएन । तर अहिले पार्टीको औपचारिक घोषणा कार्यक्रममा भने सहभागी भएकी छिन् । २०७९ सालको निर्वाचनपश्चात रास्वपाबाट समानुपातिक सांसद हुँदै शिक्षामन्त्री बनेकी श्रेष्ठले केही समयअघि मात्रै रास्वपा छोडेकी थिइन् ।

 

लुम्बिनीले टस जितेर विराटनगरविरुद्ध पहिले फिल्डिङ्ग गर्दै

काठमाडौं।नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ : लुम्बिनी लायन्सले टस जितेर विराटनगर किङ्ग्सबिरुद्ध पहिलो फिल्डिङ्ग गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने आजको खेलमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर विराटनगरलाई पहिला ब्याटिङको निम्तो दिएका हुन् ।

कुलमानको पार्टी घोषणा सभामा पुगिन् सुमना श्रेष्ठ, मञ्चमै आसिन

काठमाडौं । कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टीको घोषणा सभामा सुमना श्रेष्ठ पनि पुगेकी छन् । रास्वपा छोडेर हाल स्वतन्त्र रहँदै आएकी उनी प्रज्ञा प्रतिष्ठानमा चलिरहेको घोषणा सभामा पुगेकी हुन् । उनी पनि संलग्न रहेर पार्टी बनाउने विषयमा यसअघि धेरै चरणमा कुराकानी भएको थियो । तर श्रेष्ठसँग कुरा मिलेको थिएन । उनी शुभकामना दिनका लागि मात्र सभामा पुगेकी हुन् कि दलकै सदस्यको रुपमा आउने हुन् खुलिसकेको छैन ।

उनलाई अतिथिका रुपमा मञ्चमै आसनग्रहण गराइएको गराइएको छ । कुलमान घिसिङले पार्टी खोल्ने तयारी गर्दैगर्दा उनी कुलमानको पार्टीमा सहभागी हुने बताइएको थियो । पछि पार्टीको नाममा चित्त नबुझेको भन्दै उनी उक्त पार्टीमा नरहने खबर बाहिरिएको थियो । निर्वाचन आयोगमा अध्यावधिक भएको पार्टी पदाधिकारीको सूचीमा समेत उनको नाम उल्लेख थिएन । तर अहिले पार्टीको औपचारिक घोषणा कार्यक्रममा भने सहभागी भएकी छिन् । २०७९ सालको निर्वाचनपश्चात रास्वपाबाट समानुपातिक सांसद हुँदै शिक्षामन्त्री बनेकी श्रेष्ठले केही समयअघि मात्रै रास्वपा छोडेकी थिइन् ।

फेरि पनि ओली नेतृत्वमा गोलबन्ध हुने कुरालाई नमान्नुपर्ने कुनै कारण छैन: विष्णु पौडेल

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने कुरामा पार्टीभित्र विमति हुनुपर्ने कुनै कारण नरहेको बताएका छन् ।

पार्टीको आसन्न ११ औं महाधिवेशनमा अध्यक्ष ओलीविरुद्ध वरिष्ठ नेता ईश्वर पोखरेलले उम्मेदवारी घोषणा गरेका बेला उनले ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने कुरालाई मान्न नहुने कुनै कारण नरहेको प्रतिक्रिया दिए।

प्रेस चौतारी नेपालले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले पार्टीको आसन्न ११ औ महाधिवेशनमा सहमतीका साथ टुंगिने दाबी समेत गरे । अध्यक्ष ओलीको नेतृत्वको वरिपरी गोलबन्द भएर पार्टीलाई एकतावद्ध गरेर लिएर जाउँ भन्ने कुरालाई नमान्नुपर्ने कुनै कारण आफूले नदेखेको उनको जिकिर थियो ।

उपाध्यक्ष पौडेलले पाँचौँ राष्ट्रिय महाधिवेशनमा मदन भण्डारी विरुद्ध दिइएको उम्मेदवारी अन्तिम समयमा आएर फिर्ता भएको जस्तै आसन्न महाधिवेशनमा पनि सोही बाटोबाट एमालेले नेतृत्व चयन गर्ने विश्वास समेत व्यक्त गरे। उनले पार्टी, आन्दोलन र मुलुकको नेतृत्व गरिरहेकाले ओलीनै पार्टीको नेतृत्वमा उपयुक्त हुने तर्क पनि गरे।

उपाध्यक्ष पौडेलले भने, ‘यो धुर्व २९ गतेसम्म रहँदैन । त्यो भन्दा अगाडि नै सकिन्छ । म अहिले पनि के देख्छु भने नेकपा एमालेको ११ औ महाधिवेशन सहमतिका साथ, एकताका साथ सम्पन्न हुने सम्भावना देख्छु मैले । म तपाईहरुलाई बताउँछु–पाँचौ राष्ट्रिय महाधिवेशन हामीले एकेडेमीमा गरेका थियौं ।

महाधिवेशनमा नोमिनेशन भयो । त्यहाँ मदन भण्डारीको जब्बरजस्त प्रभाव थियो। उहाँले प्रभाव दिन भनेर गरेको पनि होइन । उहाँका विचार, उहाँका व्यवहार, उहाँका प्रस्तुति त्यसको प्रभाव थियो । नोमिनेशन सकियो, एकथरी साथीहरुले नोमिनेशन नै गरेनन ।

उनीहरुलाई के लाग्यो भने चुनावमा गयो भने हारिन्छ । हार्ने चुनाव किन लडने ? नोमिनेशन नै नगर्ने । बडो आफूलाई मूर्धन्य भनिठानेका नेताहरुले नोमिनेशन नै गरेनन । पछि यस्तो परिस्थिति बन्यो कि जसजसको नोमिनेशन भयो, त्यो पनि फिर्ता भनेर सबैको उम्मेदवारी फिर्ता भयो । त्यसपछि फेरि छलफल भयो । रस्साकस्सी भयो । पार्टी फुट्यो भन्दै थिए मान्छेहरु । पार्टी फुट्ने होइन, हामी सहमतीका साथ महाधिवेशन सकेर भव्य विजय उत्सव मनायौ हामीले । त्यसपछिका एमालेका यात्राहरुको बारेमा म मैले धेरै केही भनिरहनु परेन ।

त्यसकारणले फुटयो, फुटयो अव डिलडिलमा पुग्यो, टुक्रा, टुक्रा भयो भनेको अवस्थाबाट पनि पार्टीलाई सम्हालेर लिएर हिँडेको हाम्रो अनुभव छ । मिल्दैनन भनेको बेलामा पनि मिलेको अनुभव छ । मलाई के लाग्दैन भने अहिले चाँही अनेक प्रकारको हण्डर, ठक्कर आरोहअवरोहको सामना गर्दै पार्टीलाई, आन्दोलनलाई, मुलुकलाई नेतृत्व गर्दै आउनु भएका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको वरिपरी गोलबन्द भएर पार्टीलाई एकतावद्ध गरेर लिएर जाउँ भनेर भन्दाखेरी नमान्नुपर्ने पनि म कुनै त्यस्तो देख्दिन । यो सम्भव छैन भन्ने पनि मलाई लाग्दैन । अब धु्रवको समाचार लेख्ने दिन चाहीँ २९ गतेसम्म हो कि । तर प्रतिष्पर्धा गर्ने हो भने पनि वैधानिक व्यवस्था छ, हुन्छ ।’

उपाध्यक्ष पौडेलले एमालेले महाधिवेशनमा स्वस्थ प्रतिष्पर्धामा जाने वैधानिक बाटोलाई पनि खुला राखेको बताए ।

मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशसभामा राजीनामा घोषणा गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको २२औँ दिन प्रदेशसभामा सम्बोधन गर्दै उनले मुख्यमन्त्रीको पदबाट राजीनामा घोषणा गरेका छन् ।

२४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चले दिएको आदेशबमोजिम आज प्रदेशसभामा विश्वासको मतको कार्यसूची राखिएको थियो । तर, उनले सम्बोधन गर्न सुरू हुने बित्तिकै विपक्षी ७ दलका ७३ सांसद बाहिरिएका थिए । विश्वासको मत पाउने अवस्था नबनेपछि यादवले राजीनामाको घोषणा गरेका हुन् । प्रदेशसभाको अर्को बैठक अनिश्चित बनेको छ ।

‘क्यान’ का अधिकारीसहित सात जनाविरुद्ध साढे १३ करोड बढी बिगो

काठमाडौं । नागरिक उड्डययन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ करोड ५७ लाख रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको विशेष अदालत स्रोतले जानकारी दिएको छ । सात जनालाई प्रतिवादी बनाइएकोमा अधिकारी र पूर्व निर्देशक मुरारी भण्डारी मात्रै पक्राउ परेका छन् । अन्य ५ जना फरार छन् । अधिकारी र भण्डारीलाई भने थुनामै राखेर मुद्दा थुनछेक गर्ने अख्तियारको तयारी छ ।

विशेष अदालतले थुनामै राख्न अनुमति दिए उनीहरूले हिरासतमा बस्नुपर्नेछ । यसअघि अनुसन्धान गर्दा भने अख्तियारले तारेखमा राखेर बयानलगायतका प्रक्रियाअगाडि बढाएको थियो । तारेख बुझ्नकै लागि बुधबार अख्तियार पुगेका उनीहरूलाई पक्राउ गरेर अभियोग पत्रका साथ विशेष अदालतमा लगिएको हो । भक्तपुरको नलिनचोकस्थित हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

विदेश उड्न खोज्दै गर्दा समातिए अधिकारी
प्राधिकरणका महानिर्देशक अधिकारी विदेश उड्ने तरखरमा रहेकै बेला अख्तियारको टोलीले पक्रेको पाइएको छ । आयोगबाट खटिएको टोलीको नेतृत्व गर्दै नेपाल प्रहरीका एसपी मोहन थापाले उनलाई नियन्त्रणमा लिएको बताइन्छ । पोखरा, भैरहवामा निर्मित विमानस्थलमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले अनुसन्धान जारी राखेकै बखत उनी अर्कै काण्डमा तानिएका हुन् । हिजो मात्रै ‘हामी नेपाल’ का संयोजक तथा प्रधानमन्त्री कार्कीका अति निकट भनेर चिनिएका सुधन गुरुङलाई समेत अधिकारीले भेटेको स्रोतको दाबी छ ।

अख्तियारमा भइरहेको अनुसन्धान रोक्न र कुनै हालतमा पक्रनबाट रोक्न उनले अन्तिम समयमा गुरुङ च्यानललाई समेत प्रयोग गरेको उच्च स्रोतले बतायो । यसअघि हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचारबारे अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठसँग बयान लिएको थियो । अख्तियारमा भइरहेको अनुसन्धानलाई रोक्न अधिकारीले यसअघिका अधिकांश सरकार, ठूला राजनीतिक दलका नेतालाई प्रभावमा पारेका थिए । हिजो मात्रै हामी नेपालका संयोजक तथा प्रधानमन्त्री कार्कीका अति निकट भनेर चिनिएका सुधन गुरुङलाई समेत अधिकारीले भेटेको स्रोतको दाबी छ । अख्तियारमा भइरहेको अनुसन्धान रोक्न र कुनै हालतमा पक्रनबाट रोक्न उनले अन्तिम समयमा गुरुङ च्यानललाई समेत प्रयोग गरेको उच्च स्रोतले बतायो ।

 

 

संसद विघटनविरुद्ध एमालेको रिटमाथि सकियो बहस, के आउला आदेश ?

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा एमालेको रिटमाथि सुनुवाइ सकिएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँच जनाको पूर्ण इजलासमा रिटमाथि सुनुवाइ सकिएको हो । एमालेका विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौलाले बहस सकिएको र आजै आदेश आउने जानकारी दिए । उनले सुनाए, ‘भर्खरै बहस सकिएको छ । बेलुकासम्म आदेश आउला ।’

पूर्ण इजालसमा प्रधानन्यायाधीश राउतसहित न्यायाधीश सपना प्रधान मल्ल,कुमार रेग्मी,हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा छन् । प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले मंसिर ९ गते सर्वोच्च अदालतमा रिट दायर गरेको हो । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेपछि पुनर्स्थापनाको माग गर्दै एमाले सर्वोच्च पुगेको हो ।

रिट निवेदनमा प्रधानमन्त्री कार्कीको शपथ ग्रहण तथा अन्य नियुक्ति समेत उत्प्रेषणको आदेशले बदरको माग गरिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका अन्य रिटमा भने सर्वोच्चले विपक्षीका नाममा लिखित जवाफ माग गरेको छ । विपक्षी बनाइएका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायतले सर्वोच्चलाई लिखित जवाफ पठाइसकेका छन् ।

 

 

कोटेश्वर चोक सुधार आयोजनाका लागि जापानसँग ऋण सम्झौता

काठमाडौँ ।  कोटेश्वर चोक सुधार आयोजनाका लागि नेपाल सरकार र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच ३४ दशमलव ५९ अर्ब जापानी येन बराबरको ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)मार्फत प्राप्त हुने उक्त ऋणको ‘ग्रेस’ अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक शून्य दशमलव दुई प्रतिशत ब्याजदर रहनेछ । यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अण्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ ।

ती संरचना निर्माणको उद्देश्य काठमाडौँ, ललितपुर, भक्तपुर तथा विपी राजमार्ग हुँदै सञ्चालन हुने सवारीसाधनको आवागमन सहज बनाउने तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पु¥याउने राखिएको छ । आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागमार्फत कार्यान्वयन गरिनेछ ।

ऋण सहायतासँग सम्बन्धित अवधारणापत्रमा अर्थ सचिव डा घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरेका छन् । त्यस्तै, ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख एवं सहसचिव धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर समारोहमा अर्थमन्त्री खनालले द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । जापानी राजदुत तोरुले जापानको सहुलियतपूर्ण ऋण सहयोगमा कार्यान्वयन हुने कोटेश्वर चोक सुधार आयोजनाबाट उपत्यकाको यातायात व्यवस्थापनमा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गरेका छन् । उनले नेपाल र जापानबीचको दशकौँ पुरानो मित्रतापूर्ण सम्बन्धको स्मरण गरेका छन् ।

अर्थमन्त्री खनालले आफ्नो सम्बोधनमा नेपाल–जापान सहकार्यअन्तर्गत काठमाडौँ उपत्यकाको महत्वपूर्ण जामयुक्त स्थानको सुधारमा प्रगति ल्याउने उद्देश्यले अघि बढाइएको यो परियोजनाले राजधानीको यातायात व्यवस्थापनमा दीर्घकालीन परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, जापानी दूतावास तथा जाइका नेपालका वरिष्ठ अधिकारीको उपस्थिति थियो ।