`

मातृभाषा पत्रकारिता लोकतन्त्रको पहुँच विस्तार गर्ने माध्यम हो : मन्त्री गौतम

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मातृभाषामा हुने पत्रकारिताले राज्य र नागरिकबीचको सूचनाको दूरी घटाउँदै लोकतन्त्रलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएकी छन्।

काठमाडौंमा सोमबार आयोजित तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनलाई सम्बोधन गर्दै उनले राज्यका नीति, निर्णय र गतिविधिबारे हरेक नागरिकले आफ्नै मातृभाषामा जानकारी पाउने वातावरण लोकतन्त्रको महत्वपूर्ण आधार भएको बताइन्।

अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भमा आयोजित सम्मेलनमा मन्त्री गौतमले नेपालको इतिहास, सभ्यता र सांस्कृतिक विविधता संरक्षणमा आदिवासी समुदायले पुर्‍याएको योगदानको चर्चा गर्दै भाषाको संरक्षण सञ्चारमाध्यमसँग प्रत्यक्ष जोडिएको बताइन्।

उनका अनुसार भाषा घरपरिवार वा समुदायमा बोलिने माध्यम मात्र नभई सञ्चारको अभ्यासमा प्रयोग हुँदा जीवित र पुस्तान्तरणयोग्य बन्छ। मातृभाषामा सञ्चार विस्तार हुनु भनेको सम्बन्धित समुदायको ज्ञान, संस्कृति र पहिचानलाई सार्वजनिक जीवनमा स्थापित गर्नु पनि हो।

‘मिथिलादेखि राउटे समुदायसम्मका नागरिकले राज्यका गतिविधि बुझ्न पाउनुपर्छ,’ मन्त्री गौतमले भनिन्, ‘नागरिकले आफ्नै आमाले सिकाएको भाषामा राज्यका सूचना प्राप्त गर्दा मात्रै लोकतन्त्र वास्तविक अर्थमा बलियो हुन्छ।’

नेपालको बहुभाषिक र बहुजातीय पहिचानलाई संरक्षण गर्नु सबैको साझा दायित्व रहेको उल्लेख गर्दै उनले मातृभाषाका पत्रकारहरूले भोगिरहेका व्यावसायिक तथा संस्थागत समस्याप्रति सरकार सकारात्मक रहेको बताइन्।

मातृभाषा पत्रकारिताको विकास र प्रवर्द्धनका लागि आवश्यक नीतिगत सुधारबारे ठोस प्रस्ताव र सुझाव दिन उनले पत्रकार तथा सञ्चारकर्मीलाई आग्रह गरिन्। भाषाको संरक्षणसँगै पत्रकारको वृत्तिविकास र सञ्चार क्षेत्रको संस्थागत सुदृढीकरणमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो।

सम्मेलनमा विभिन्न देशका प्रतिनिधि, राजनीतिक दलका नेता तथा सञ्चारकर्मी सहभागी थिए। अन्तर्राष्ट्रिय अनुभव र अभ्यासको आदानप्रदानले नेपालमा मातृभाषा पत्रकारिताको विकासका लागि थप मार्गदर्शन दिने अपेक्षा मन्त्री गौतमले व्यक्त गरिन्।

प्रतिनिधिसभामा विपक्षीको आज पनि विरोध

काठमाडौँ। प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले आज पनि विरोध जनाएका छन्। बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका हुन्।

गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले ‘नेपालले पनि भारतका धेरै ठाउँमा जग्गा मिचेको रहेछ’ भन्दै दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्दै विपक्षी दलहरूले विरोध जनाएका हुन्।

प्रधानमन्त्रीको उक्त अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै विपक्षी दलहरूले यसअघि पनि संसद् बैठकमा विरोध जनाउँदै आएका छन्।

बालुवाटारमा बालेन-रवि भेट, दूरी घटाउन ‘कसरत’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र सभापति रवि लामिछाने पक्ष र प्रधानमन्त्री वालेन्द्र शाह पक्षबीच बढ्दै गएको राजनीतिक रस्साकस्सीबीच दुई नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ।

सरकार सञ्चालन, पार्टी संगठन र नियुक्तिका विषयमा दुवै पक्षबीच देखिएको असमझदारीलाई व्यवस्थापन गर्दै सम्बन्ध सुधार्ने प्रयासका रूपमा भेटलाई हेरिएको छ।

आइतबार साँझ बालुवाटार पुगेका लामिछाने र प्रधानमन्त्री शाहबीच करिब ४५ मिनेट छलफल भएको थियो। पछिल्लो समय सरकारको कामकारबाहीप्रति रास्वपाका सांसद तथा नेताहरूले सार्वजनिक रूपमा प्रश्न उठाउन थालेका बेला भएको भेटले पार्टीभित्रको शक्ति सन्तुलन र नेतृत्वबीचको सम्बन्धलाई फेरि बहसमा ल्याएको छ।

रास्वपाभित्र सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच व्यक्तिगत सम्बन्ध रहे पनि दुवै पक्षका दोस्रो तहका नेताहरूबीच पछिल्लो समय मतभेद देखिन थालेको बताइन्छ। सरकारका निर्णय, विभिन्न निकायमा भएका नियुक्ति, पार्टी संगठन विस्तार तथा पदाधिकारी मनोनयनमा कसको प्रभाव कति रहने भन्ने विषयले दुवै पक्षबीच रस्साकस्सी बढाएको स्रोतहरूको दाबी छ।

विशेषगरी पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनको विषयमा देखिएको अन्योलले दुवै पक्षबीचको दूरीलाई थप प्रस्ट पारेको छ। पार्टी सभापतिका तर्फबाट मनोनयन प्रक्रिया अघि बढाउन खोजिए पनि प्रधानमन्त्री पक्षबाट नाम टुंग्याउने विषयमा अपेक्षित सहमति नआएको लामिछानेनिकट स्रोतको दाबी छ। यही कारण केही पदाधिकारी तथा सदस्यको मनोनयन लम्बिएको बताइएको छ।

सरकारमा कसको प्रभाव बढी देखिने भन्ने प्रश्न पनि दुवै पक्षको रस्साकस्सीको अर्को आधार बनेको देखिन्छ। प्रधानमन्त्री शाह आफ्नो कार्यशैलीअनुसार सरकार सञ्चालन गर्न चाहिरहेका छन् भने पार्टी नेतृत्वले सरकारका निर्णयमा संगठनात्मक तथा राजनीतिक समन्वय आवश्यक रहेको बताउँदै आएको छ। सरकारमा सहभागी मन्त्री, पार्टी पदाधिकारी र सांसदको भूमिकालाई कसरी सन्तुलित गर्ने भन्ने विषयमा पनि मतभिन्नता देखिएको छ।

यसबीच सरकारका विभिन्न निकायमा भएका नियुक्तिले पनि विवाद थपेको छ। केही नियुक्तिमा विवादित पृष्ठभूमि भएका व्यक्तिहरूलाई जिम्मेवारी दिइएको भन्दै पार्टीभित्रै प्रश्न उठेको बताइएको छ। नियुक्ति प्रक्रिया र व्यक्तिको छनोटमा पर्याप्त राजनीतिक तथा संगठनात्मक छलफल नभएको असन्तुष्टि सभापति पक्षबाट उठेको स्रोतको दाबी छ।

अर्कोतर्फ, प्रधानमन्त्री पक्षले भने सरकार सञ्चालनको जिम्मेवारी प्रधानमन्त्रीको नेतृत्वमा हुने भएकाले हरेक निर्णयलाई पार्टीभित्रको गुटगत दृष्टिले हेर्न नहुने धारणा राख्दै आएको बताइन्छ। सरकारका निर्णयलाई बाहिरबाटै निरन्तर प्रश्न उठाउँदा सरकार कमजोर हुने र त्यसको राजनीतिक असर अन्ततः पार्टीमै पर्ने प्रधानमन्त्री पक्षको बुझाइ रहेको स्रोतहरूको भनाइ छ।

यही मतभेद संसद्मा समेत देखिन थालेको थियो। रास्वपाका केही सांसदले सरकारको कार्यशैलीप्रति खुलेर खबरदारी गर्न थालेपछि प्रधानमन्त्री शाह असन्तुष्ट रहेको चर्चा चल्यो। त्यसको केही दिनअघि प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत आफू विभिन्न चुनौतीसँग एक्लै लडिरहेको संकेत गरेपछि पार्टीभित्रको सम्बन्धबारे थप प्रश्न उठेको थियो।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि पार्टीका नेताहरूबाट समेत प्रतिक्रिया आउन थाले। यसले असन्तुष्टि अब बन्द कोठाको छलफलमा मात्र सीमित नभई सार्वजनिक तहमा पुग्न थालेको संकेत दिएको थियो। यही अवस्थामा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच प्रत्यक्ष संवाद हुनुलाई सम्बन्धमा थप क्षति हुन नदिन गरिएको राजनीतिक पहलका रूपमा हेरिएको हो।

लामिछाने र शाहबीच व्यक्तिगत रूपमा संवादको बाटो भने बन्द भएको देखिँदैन। दुवै नेताबीच यसअघि पनि लामो छलफल भएको बताइएको छ। तर उनीहरूबीचको व्यक्तिगत संवादभन्दा दुवै पक्षका समर्थक र दोस्रो तहका नेताबीच देखिएको प्रतिस्पर्धा अहिले बढी चुनौतीपूर्ण बनेको देखिन्छ।

रास्वपाभित्रको यो रस्साकस्सी व्यक्ति वा पदको विषयमा सीमित छैन। सरकारको निर्णय प्रक्रियामा पार्टीको भूमिका कति हुने, संगठनमा कसको प्रभाव रहने, आगामी राजनीतिक रणनीति कसरी तय गर्ने र सरकारको सफलताको श्रेय कसरी बाँडिने भन्ने व्यापक प्रश्नसँग पनि यो जोडिएको छ।

सभापति लामिछाने पार्टी संगठनलाई आफ्नो नेतृत्वमा सुदृढ गर्न चाहन्छन् भने प्रधानमन्त्री शाह सरकार सञ्चालनमा आफ्नो राजनीतिक तथा प्रशासनिक प्रभाव कायम राख्न चाहन्छन्। दुवै नेताको आफ्नै राजनीतिक आधार र प्रभाव भएकाले उनीहरूबीचको सम्बन्ध जति महत्वपूर्ण छ, त्यति नै उनीहरू वरिपरिका समूहबीचको समन्वय पनि महत्वपूर्ण बनेको छ।

त्यसैले बालुवाटारको पछिल्लो भेटलाई केवल दुई नेताबीचको नियमित भेटका रूपमा मात्र बुझ्दा त्यसको राजनीतिक पृष्ठभूमि छुट्न सक्छ। भेटको केन्द्रमा सरकार र पार्टीबीचको दूरी कम गर्ने, दुवै पक्षका असन्तुष्टि व्यवस्थापन गर्ने र आगामी दिनमा समन्वयको नयाँ आधार खोज्ने प्रयास रहेको देखिन्छ।

यदि शीर्ष नेतृत्वबीच समझदारी बने पनि दुवै पक्षका दोस्रो तहका नेताबीचको रस्साकस्सी यथावत् रह्यो भने समस्या फेरि सतहमा आउने सम्भावना छ। त्यसैले अबको चुनौती रवि र बालेनबीच संवाद कायम गर्नु मात्र होइन, उनीहरूका पक्षमा उभिएका समूहबीच पनि सहकार्यको वातावरण बनाउनु हो।

सरकार सञ्चालनको सय दिन पूरा भइसकेको अवस्थामा प्रधानमन्त्री शाहमाथि परिणाम देखाउने दबाब छ। उता पार्टी सभापति लामिछानेमाथि पनि सरकारमा सहभागी दलका रूपमा जनअपेक्षा पूरा गराउने र पार्टी संगठनलाई व्यवस्थित बनाउने चुनौती छ। दुवै पक्षबीचको असमझदारी लम्बिँदा त्यसको प्रत्यक्ष असर सरकारको प्रभावकारिता र पार्टीको राजनीतिक छविमा पर्न सक्छ।

त्यसैले बालुवाटार भेटलाई तत्काल कुनै निर्णय गर्ने बैठकभन्दा पनि सम्बन्धमा आएको चिसोपन कम गर्ने ‘कसरत’का रूपमा बुझ्न सकिन्छ।

अब दुई नेताबीच भएको संवादले दुवै पक्षका समर्थकबीचको रस्साकस्सीलाई कति नियन्त्रण गर्छ, सरकारका निर्णयमा समन्वय कति बढ्छ र पार्टी संगठनका विवाद कसरी टुंगिन्छन् भन्ने कुराले यो भेटको वास्तविक परिणाम देखाउनेछ।

ट्रमा सेन्टर सार्न खोजेपछि ढल्केबरमा चक्काजाम

धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

ट्रमा सेन्टर संरक्षण संघर्ष समितिको आह्वानमा जारी आन्दोलनअन्तर्गत पाँचौँ दिन बुधबार स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिले आधा घण्टा राजमार्ग अवरुद्ध गरेका हुन्।

बिहान ११ बजेदेखि ११ः३० बजेसम्म ढल्केबरमा राजमार्ग अवरुद्ध गर्दै प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गरेका थिए। संघर्ष समितिले प्रस्तावित स्थानमै ट्रमा सेन्टर निर्माण गर्नुपर्ने माग राख्दै गत शुक्रबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको हो।

प्रतिनिधिसभामा स्वास्थ्यसम्बन्धी विषयमा बोल्दै स्वास्थ्यमन्त्री निशा मेहताले ट्रमा सेन्टर लहानमा निर्माण हुने जानकारी दिएपछि ढल्केबरमा विरोध थप चर्किएको हो। स्थानीयले वर्षौँदेखि अघि बढाइएको योजना अन्यत्र सार्न खोजिएको भन्दै निर्णय सच्याउन माग गरेका छन्।

संघर्ष समितिका संयोजक तथा मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोका अनुसार आन्दोलनलाई थप सशक्त बनाइनेछ। उनका अनुसार बिहीबार बिहान ११ बजेदेखि १२ बजेसम्म र साउन २७ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म राजमार्ग चक्काजाम गर्ने कार्यक्रम तय गरिएको छ।

ढल्केबरमा ट्रमा सेन्टर निर्माणका लागि संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमै पहिलोपटक रकम विनियोजन गरेको थियो। मिथिला नगरपालिका–७, साविक ढल्केबर गाविस–२ ‘क’ स्थित कित्ता नम्बर १६९ को करिब चार बिघा ऐलानी जग्गालाई आधार बनाएर योजना अघि बढाइएको थियो।

स्थानीय जनप्रतिनिधिका अनुसार ट्रमा सेन्टरका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया पूरा भइसकेको छ र लालपुर्जा समेत तयार भइसकेको छ। योजना निर्माणको चरणमा प्रवेश गर्न लागेको अवस्थामा स्थान परिवर्तनको निर्णय आएपछि स्थानीय आक्रोशित भएका हुन्।

ढल्केबर पूर्व–पश्चिम राजमार्गको महत्वपूर्ण स्थान भएकाले यहाँ ट्रमा सेन्टर आवश्यक रहेको स्थानीयको तर्क छ। राजमार्गमा हुने दुर्घटनाका घाइतेलाई तत्काल उपचार उपलब्ध गराउन सकिने र आसपासका जिल्लाका बासिन्दाले समेत सेवा पाउने भएकाले प्रस्तावित योजना अन्यत्र सार्न नहुने उनीहरूको माग छ।

स्थानीयको आन्दोलन अब केवल ट्रमा सेन्टर निर्माणको मागमा सीमित नरही सरकारले वर्षौँअघि अघि बढाएको योजना कार्यान्वयन गर्ने कि स्थान परिवर्तन गर्ने भन्ने विषयमा केन्द्रित भएको छ।

सरकारले स्थानीय सरोकारवालासँग संवाद गरी विवाद समाधान नगरे आन्दोलन थप चर्किन सक्ने देखिएको छ।

पाँच वर्षमा २ हजार २८८ विदेशी नेपालबाट निष्कासित

काठमाडौं। नेपालमा बसाइँ, भिसा तथा अध्यागमनसम्बन्धी नियम उल्लंघन गर्ने विदेशी नागरिकमाथि निष्कासनको कारबाही बढ्दै गएको छ।

अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२१ देखि २०२५ सम्म पाँच वर्षको अवधिमा २ हजार २८८ जना विदेशी नागरिक नेपालबाट निष्कासित भएका छन्।

तथ्यांकअनुसार सन् २०२५ मा मात्रै ५२३ जना विदेशी नागरिक निष्कासनमा परेका छन्। यो पाँच वर्ष अवधिमै सबैभन्दा धेरै संख्या हो। सन् २०२४ मा ५०९, २०२३ मा ४५८, २०२२ मा ४७० र २०२१ मा ३२८ जना विदेशी नागरिकलाई नेपालबाट निष्कासित गरिएको थियो।

यसरी हेर्दा नेपालबाट निष्कासित हुने विदेशी नागरिकको संख्या पछिल्ला वर्षमा सामान्यतः बढ्दो देखिन्छ। सन् २०२१ को ३२८ जनाको तुलनामा २०२५ मा निष्कासन हुनेको संख्या ५२३ पुगेको छ, जुन करिब ६० प्रतिशतको वृद्धि हो।

पाँच वर्षको तथ्यांकमा नेपालबाट निष्कासित विदेशीमध्ये चिनियाँ नागरिकको संख्या सबैभन्दा धेरै देखिन्छ। सन् २०२३ मा मात्रै २०९ जना चिनियाँ नागरिक निष्कासनमा परेका थिए। त्यसपछि २०२४ मा १४९ र २०२५ मा १२० जना चिनियाँ नागरिक निष्कासित भएका छन्।

यसअघि सन् २०२२ मा १११ र २०२१ मा ३४ जना चिनियाँ नागरिक निष्कासनमा परेका थिए। संख्या वर्षअनुसार घटबढ भए पनि पछिल्लो पाँच वर्षको समग्र सूचीमा चिनियाँ नागरिक सबैभन्दा अगाडि देखिएका छन्।

सन् २०२५ मा निष्कासित ५२३ विदेशीमध्ये १२० जना चिनियाँ नागरिक थिए। अर्थात् एक वर्षमा नेपालबाट निष्कासन हुने विदेशीमध्ये उल्लेख्य हिस्सा चिनियाँ नागरिकको रहेको देखिन्छ।

नेपालबाट निष्कासित विदेशीको सूचीमा दक्षिण एसियाली मुलुकका नागरिकको संख्या पनि उल्लेख्य छ।

सन् २०२५ मा ७५ जना बंगलादेशी नागरिक निष्कासित भएका थिए। २०२४ मा ४२ र २०२३ मा ११ जना बंगलादेशी नागरिक निष्कासनमा परेका थिए।

त्यस्तै सन् २०२५ मा १८ जना पाकिस्तानी नागरिक निष्कासित भएका छन्। २०२४ मा ३०, २०२२ मा १८ र २०२१ मा १२ जना पाकिस्तानी नागरिक निष्कासनमा परेका थिए।

यसले नेपालमा अध्यागमनसम्बन्धी नियम उल्लंघनको विषय कुनै एउटा क्षेत्र वा मुलुकका नागरिकमा मात्र सीमित नभएको देखाउँछ।

नेपालबाट निष्कासन हुने विदेशीको सूचीमा अमेरिका र बेलायतका नागरिक पनि नियमित रूपमा देखिन्छन्।

सन् २०२५ मा ३४ जना अमेरिकी नागरिक निष्कासित भएका थिए। २०२४ मा ५४, २०२३ मा ३७, २०२२ मा ४८ र २०२१ मा ११ जना अमेरिकी नागरिक निष्कासनमा परेका थिए।

त्यस्तै सन् २०२५ मा २२ जना बेलायती नागरिक निष्कासित भएका छन्। २०२४ मा २९, २०२३ मा १८, २०२२ मा ३७ र २०२१ मा १६ जना बेलायती नागरिकलाई निष्कासन गरिएको विभागको तथ्यांकमा उल्लेख छ।

पाँच प्रमुख मुलुकबाहेक युरोप, एसिया र अन्य क्षेत्रका विभिन्न मुलुकका नागरिक पनि निष्कासनमा परेका छन्। केही वर्षको विवरणमा उज्बेकिस्तान, फ्रान्स र दक्षिण कोरियालगायत देशका नागरिक पनि देखिन्छन्।

विदेशी नागरिकलाई नेपालबाट निष्कासन गर्नुपर्ने प्रमुख कारण भने भिसा अवधि सकिएपछि पनि नेपालमा बसिरहनु अर्थात् ओभरस्टे देखिएको छ।

विभागको पाँच वर्षको विवरणअनुसार हरेक वर्ष मुद्दासम्बन्धी कारणभन्दा ओभरस्टेका कारण निष्कासित हुने विदेशीको संख्या निकै बढी छ।

सन् २०२५ मा निष्कासित ५२३ जनामध्ये ४५९ जना ओभरस्टे र ६४ जना मुद्दासम्बन्धी कारणबाट निष्कासनमा परेका थिए।

त्यस्तै सन् २०२४ मा ४५९ जना ओभरस्टे र ५० जना मुद्दाका कारण, २०२३ मा ४१२ जना ओभरस्टे र ४६ जना मुद्दाका कारण, २०२२ मा ४३४ जना ओभरस्टे र ३६ जना मुद्दाका कारण तथा २०२१ मा २९३ जना ओभरस्टे र ३५ जना मुद्दाका कारण निष्कासित भएका थिए।

अर्थात् पाँच वर्षमा निष्कासित २ हजार २८८ विदेशीमध्ये ठूलो हिस्सा भिसाको अवधि सकिएपछि पनि नेपालमा बसेका विदेशी नागरिकको छ।

नेपालमा पर्यटन, व्यवसाय, अध्ययन, रोजगारी तथा अन्य प्रयोजनका लागि विदेशी नागरिकको आवागमन हुने गर्छ। विदेशी आगमन बढेसँगै उनीहरूको प्रवेश, बसाइँ, भिसाको अवधि र गतिविधिको नियमन पनि अध्यागमन व्यवस्थापनको महत्वपूर्ण विषय बन्दै गएको छ।

तोकिएको अवधिभन्दा बढी नेपालमा बस्ने, भिसामा उल्लेख गरिएको उद्देश्यभन्दा फरक गतिविधि गर्ने वा अन्य कानुनी विवादमा पर्ने विदेशी नागरिकमाथि अध्यागमन विभागले कानुनअनुसार कारबाही गर्दै आएको छ।

ओभरस्टेको उच्च संख्या भने नेपालमा विदेशी नागरिकको भिसा व्यवस्थापन र अनुगमनलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाउने एउटा सूचकका रूपमा लिन सकिन्छ। विदेशी नागरिकले नेपाल प्रवेश गर्दा प्राप्त गरेको भिसाको प्रकृति र अवधि पालना नगरेमा जरिवानादेखि निष्कासनसम्मको कारबाही हुन सक्छ।

पाँच वर्षको तथ्यांकले निष्कासन संख्या बढेको देखाए पनि यसलाई मात्रै आधार बनाएर विदेशी नागरिकबाट नियम उल्लंघन बढेको निष्कर्ष निकाल्न भने सावधानी आवश्यक हुन्छ। नेपालमा हरेक वर्ष आउने विदेशीको कुल संख्या, विभिन्न प्रकारका भिसा लिनेको संख्या र अध्यागमन निगरानीको प्रभावकारितासँग निष्कासनको तथ्यांकलाई जोडेर हेर्नुपर्ने हुन्छ।

तर निरन्तर रूपमा ओभरस्टे प्रमुख कारणका रूपमा देखिनुले भिसा अवधि व्यवस्थापन र विदेशी नागरिकको कानुनी हैसियत अनुगमनमा थप प्रभावकारिताको आवश्यकता भने देखाउँछ।

अर्कोतर्फ, निष्कासनमा पर्ने विदेशीको राष्ट्रियता फरक–फरक हुनुबाट अध्यागमन नियम सबै विदेशी नागरिकका लागि समान रूपमा लागू हुने देखिन्छ। कुनै निश्चित देशका नागरिक मात्र कारबाहीमा पर्ने अवस्था नभई नियम उल्लंघन गर्ने विभिन्न देशका नागरिकमाथि कारबाही हुने गरेको तथ्यांकले देखाउँछ।

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीचको भेटवार्ता सकियो

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विभिन्न विषयमा छलफल भएको जनाइएको छ।

भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रधानमन्त्री शाहले नेपाल-भारतबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन आपसी सहकार्य र साझेदारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

भेटमा दुई देशबीच पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

यातायात सेवा कार्यालयको राजस्व ५० लाखले बढ्यो

काठमाडौं। यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक करोड ९४ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा करिब ५० लाख रुपैयाँ बढी राजस्व संकलन भएको हो।

कार्यालयका अनुसार चालक अनुमतिपत्रको संख्या वृद्धि, सवारीसाधन थपिनु तथा सेवा प्रवाह छिटोछरितो हुनु राजस्व बढ्नुका प्रमुख कारण हुन्।

गत आवमा सवारीसाधन करबाट सबैभन्दा धेरै एक करोड ३९ लाख तीन हजार रुपैयाँ राजस्व संकलन भएको छ। यस्तै, सवारी दर्ता किताब दस्तुरबाट ६४ लाख ९२ हजार, पकेट तथा रुट परमिटबाट १८ लाख ८८ हजार, अग्रिम आयकरबाट ६ लाख ६८ हजार र बेरुजु असुलीबाट एक हजार ५७५ रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ।

सोही अवधिमा कार्यालयले विभिन्न वर्गका गरी ६२० वटा चालक अनुमतिपत्र वितरण गरेको छ। जसमा मोटरसाइकल, स्कुटर तथा मोपेड वर्ग ‘ए’ का १८८, कार, जिप तथा डेलिभरी भ्यान वर्ग ‘बी’ का ३८ तथा लाइसेन्सको प्रतिलिपि र नवीकरण ३९४ रहेका छन्।

कार्यालयका अनुसार सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउने प्रयाससँगै सवारीसाधन र चालक अनुमतिपत्रसम्बन्धी कारोबार बढ्दा राजस्व संकलनमा समेत वृद्धि भएको हो।

समान काम, समान दाम भन्दै कर्मचारीद्वारा सीटीईभीटी घेराउ

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत देशभरका ६७ वटा आङ्गिक शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीले विभिन्न माग राख्दै परिषद्को केन्द्रीय कार्यालय, सानोठिमी घेराउ गरेका छन्।

साउन १४ गतेदेखि देशभरका आङ्गिक शिक्षालयमा चरणबद्ध आन्दोलन गर्दै आएका कर्मचारीले माग सम्बोधन नभएपछि पूर्वघोषित कार्यक्रमअनुसार आजदेखि केन्द्रीय कार्यालय घेराउ गरेका हुन्। आन्दोलनमा करिब २ हजार २ सय करार तथा ज्यालादारी कर्मचारी सहभागी रहेको बताइएको छ।

कर्मचारीले समान कामका लागि समान ज्याला लागू गर्नुपर्ने माग गरेका छन्। त्यससँगै स्थानीय भत्ता, दुर्गम भत्ता, महँगी भत्ता, प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा तथा पेशागत स्थायित्वको व्यवस्था गर्न उनीहरूको माग छ।

लामो समयदेखि परिषद्अन्तर्गतका विभिन्न शिक्षालयमा काम गर्दै आए पनि समान प्रकृतिको जिम्मेवारी पूरा गर्ने कर्मचारीबीच पारिश्रमिक तथा सेवा–सुविधामा विभेद गरिएको आन्दोलनरत कर्मचारीको गुनासो छ। उनीहरूले यस्तो विभेद अन्त्य गरी न्यायोचित सेवा–सुविधाको व्यवस्था गर्न माग गरेका छन्।

करार तथा ज्यालादारी केन्द्रीय संघ समितिका सह–संयोजक इन्जिनियर युकेश गौतमले चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्दासमेत व्यवस्थापनले माग सम्बोधन गर्न चासो नदेखाएपछि केन्द्रीय कार्यालय घेराउ गर्नुपरेको बताए।

उनका अनुसार कर्मचारीका माग वार्ता र संवादमार्फत तत्काल सम्बोधन गर्नुपर्छ। समान कामका लागि समान ज्याला, स्थानीय तथा दुर्गम भत्ता, सामाजिक सुरक्षा र पेशागत स्थायित्वलाई मुख्य मागका रूपमा अघि सारिएको उनले बताए।

पशुपतिमा निशुल्क स्वास्थ्य शिविर

काठमाडौं। सशस्त्र प्रहरी परिवार महिला सङ्घले पशुपतिनाथ मन्दिर परिसरमा दर्शनका लागि आउने भक्तजनलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

साउन महिनाको प्रत्येक सोमबार सञ्चालन हुँदै आएको शिविरमा नेपाल एपीएफ अस्पतालका चिकित्सकसहितको टोलीले भक्तजनको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ।

शिविरमा स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधि र खानेपानीसमेत निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइएको छ।

यसैगरी, साउन महिनाभर प्रत्येक सोमबार पशुपतिनाथ मन्दिरमा आउने दर्शनार्थीको सुरक्षालाई ध्यानमा राख्दै बागमती किनारमा विपद् व्यवस्थापन टोलीलाई तयारी अवस्थामा राखिएको छ। १० सदस्यीय टोलीलाई र्‍याफ्ट बोट तथा आवश्यक उद्धार सामग्रीसहित तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको जनाइएको छ।

द रिटर्न अफ समिर भट्ट : १२ गाउँ-२ दशैँमा आउँदै

काठमाडौं। समिर भट्टको मुख्य भूमिका रहेको बहुप्रतीक्षित नेपाली फिल्म ‘१२ गाउँ २’ आगामी असोज ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ। दसैँको अवसर पारेर फूलपातीको अघिल्लो दिन फिल्म प्रदर्शनमा ल्याउन लागिएको हो।

‘१२ गाउँ २’ सन् २०२४ मा प्रदर्शनमा आएको सफल फिल्म ‘१२ गाउँ’को सिक्वेल हो। एक्सन अभिनेता विराज भट्टको निर्देशनमा बनेको पहिलो श्रृंखलाबाट समिर भट्ट नेपाली फिल्म क्षेत्रमा उदाउँदो स्टारका रूपमा स्थापित भएका थिए। पहिलो फिल्मको सफलतासँगै समिरको बढ्दो लोकप्रियताका कारण ‘१२ गाउँ २’लाई दर्शकमाझ प्रतीक्षित फिल्मका रूपमा हेरिएको छ।

फिल्मको निर्देशन विराज भट्टले गरेका हुन्। फिल्ममा विराज भट्ट, समिर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटनी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी, पूर्णबहादुर गन्धर्वलगायत कलाकारको अभिनय रहेको छ।

सन्तोष सरकारको कथा तथा पटकथा रहेको फिल्ममा महेश पौडेलको छायांकन छ। त्यस्तै, स्टन्ट सिल्भा र शंकर महर्जनले द्वन्द्व निर्देशन गरेका छन् भने कालाचरण र गीता गुरप्पाको ब्याकग्राउन्ड म्युजिक तथा सियोन श्रेष्ठको नृत्य निर्देशन रहेको छ।

दसैँको माहोललाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको ‘१२ गाउँ २’बाट निर्माण पक्षले पहिलो श्रृंखलाको सफलता दोहोर्‍याउने अपेक्षा गरेको छ।

इङ्ग्लिस अलराउन्डर जैब सुदूरपश्चिममा

काठमाडौं। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का लागि इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।

जैब एनपीएलको पहिलो संस्करणमा पनि सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए। उक्त संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए। उनले ९ खेलमा २ अर्धशतकसहित २७५ रन बनाउनुका साथै १२ विकेट हात पारेका थिए।

इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट भने नखेलेका जैबले घरेलु क्रिकेटमा भने निरन्तर प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। बाँयाहाते ब्याटर जैबले टी–२० क्रिकेटमा ११२ खेल खेल्दै १ हजार ७९२ भन्दा बढी रन बनाएका छन्। उनको स्ट्राइक रेट १४० भन्दा माथि रहेको छ।

भाइटालिटी ब्लास्टमा मात्रै उनले १ हजार ६०० भन्दा बढी रन बनाइसकेका छन्। स्लो लेफ्ट आर्म बलिङ गर्ने जैबले टी–२० क्रिकेटमा २३ विकेटसमेत लिएका छन्।

जैबले पछिल्लो समय भाइटालिटी ब्लास्ट र द हन्ड्रेडमा समेत सहभागिता जनाउँदै उत्कृष्ट लय कायम राखेका छन्। नेपाल फर्किन पाउँदा खुसी व्यक्त गर्दै उनले भनेका छन्, ‘म फेरि आफ्नो घरमा फर्कन पाउँदा निकै खुसी छु र नेपालमा आएर फेरि खेल्न निकै उत्साहित छु।’

सुदूरपश्चिम रोयल्सले यसअघि कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई टोलीमा कायम राखेको थियो।

त्यस्तै, अक्सनमार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई टोलीमा भित्र्याएको थियो। जैबको आगमनसँगै सुदूरपश्चिमको टोली थप बलियो बनेको अपेक्षा गरिएको छ।

कांग्रेस फुट्न नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं । नेपाली कांग्रेसभित्र आन्तरिक असन्तुष्टि र नेतृत्वगत खिचातानी बढिरहेका बेला पार्टीका नेता चन्द्र भण्डारीले विभाजन रोक्न नेता-कार्यकर्तालाई अपिल गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले संकटका बेला पुरानो पार्टीको आवश्यकता अझ बढी हुने भन्दै कांग्रेसलाई फुटबाट जोगाउनुपर्ने बताएका छन्। पार्टीमा कमजोरी भए त्यसलाई सुधार्दै अघि बढ्नुपर्ने उनको भनाइ छ।

भण्डारीले वर्षायाममा घर भत्काउँदा सबै भिज्ने र असिना पर्दा ज्यानसमेत जोखिममा पर्न सक्ने उदाहरण दिँदै आन्तरिक विवादका कारण पार्टी नै कमजोर पार्न नहुने संकेत गरेका छन्।

उनले कांग्रेसको इतिहास, संघर्ष र सहिदहरूको योगदान स्मरण गर्दै पार्टीको संरचना त्याग र बलिदानको जगमा बनेको उल्लेख गरेका छन्।

सत्तामा रहँदा कांग्रेसले कतिपय विषय बिर्सिएको स्वीकार गर्दै उनले विगतका कमजोरीबाट पाठ सिकेर पार्टीको मर्यादा जोगाउनुपर्नेमा जोड दिएका छन्।

नेपाल माइक्रो इन्स्योरेन्सले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्सले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। कम्पनीले आफ्नो केन्द्रीय कार्यालय भरतपुर, चितवनका साथै काठमाडौं र विभिन्न प्रादेशिक कार्यालयका लागि कर्मचारी माग गर्दै आवेदन खुलाएको हो।

कम्पनीले मुख्य बजार अधिकृत (सीएमओ), मुख्य वित्तीय अधिकृत (सीएफओ), पाँच जना प्रदेश प्रमुख (मार्केटिङ), बजार प्रतिनिधि तथा सूचना प्रविधि विभागका लागि सहायक पदमा कर्मचारी माग गरेको जनाएको छ।

सम्बन्धित शैक्षिक योग्यता हासिल गरेका तथा बीमा, बैंकिङ वा वित्तीय क्षेत्रमा अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ। बजार प्रतिनिधि पदका लागि भने हालै स्नातक तह उत्तीर्ण गरेका उम्मेदवारले समेत आवेदन दिन सक्नेछन्।

इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो बायोडाटा, आवेदनपत्र, फोटो लगायत आवश्यक कागजात कम्पनीको आधिकारिक इमेल [email protected] मा पठाउनुपर्नेछ।
कम्पनीका अनुसार प्रारम्भिक छनोटमा परेका उम्मेदवारलाई मात्र आगामी छनोट प्रक्रियामा सहभागी गराइनेछ।

जेईले लियो एक महिनामै ९ जनाको ज्यान

काठमाडौं। नेपालमा जापानी इन्सेफ्लाइटिस (जेई) संक्रमणबाट पछिल्लो एक महिनामै कम्तीमा नौ जनाको मृत्यु भएको छ।

कोशीमा ६, मधेशमा दुई र लुम्बिनीमा एक जनाको मृत्यु भएको हो। थप ३७ जना संक्रमित अस्पतालमा उपचाररत छन्।

वर्षायामसँगै जेई संक्रमणको जोखिम बढ्ने भएकाले आगामी दिनमा संक्रमित र मृतकको संख्या थप बढ्न सक्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन्। लामखुट्टेको टोकाइबाट सर्ने जेई नेपालमा गम्भीर स्वास्थ्य समस्या र मृत्युको प्रमुख कारणमध्ये एक हो।

जेई भाइरस संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। पानी जम्ने क्षेत्र, धानखेत तथा सुँगुर पाल्ने स्थान आसपास संक्रमणको जोखिम बढी हुन्छ। संक्रमणले मस्तिष्क तथा स्नायु प्रणालीमा गम्भीर असर पार्न सक्छ। गम्भीर अवस्थामा पुगेका बिरामीमध्ये उल्लेख्य संख्यामा मृत्यु हुने र बाँचेकामध्ये पनि केहीमा दीर्घकालीन अपांगता देखिन सक्ने स्वास्थ्य विज्ञहरू बताउँछन्।

नेपालमा जेई संक्रमणका लागि छुट्टै प्रभावकारी औषधि छैन। संक्रमित भएपछि लक्षण र जटिलताअनुसार उपचार गरिन्छ। त्यसैले संक्रमण नियन्त्रणमा खोपलाई सबैभन्दा प्रभावकारी उपाय मानिएको छ।

पछिल्ला वर्षका तथ्यांकले जेई संक्रमणबाट मृत्यु हुने तथा गम्भीर बिरामी पर्नेमा खोप नलगाएका व्यक्तिको संख्या बढी रहेको देखाएको छ। पश्चिम नवलपरासीमा हालै भएको एक मृत्युमा पनि सम्बन्धित व्यक्तिले जेईविरुद्धको खोप नलगाएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

जिल्लामा केही महिनाअघि खोप अभियान सञ्चालन गरिए पनि करिब ७७ प्रतिशत नागरिकले मात्र खोप लगाएका थिए। यसले जोखिममा रहेका सबै जनसंख्यालाई खोपको पहुँचमा ल्याउन अझै चुनौती रहेको देखाउँछ।

नेपालमा करिब एक करोड २५ लाख जनसंख्या जेई संक्रमणको उच्च जोखिममा रहेको अनुमान छ। पछिल्ला तथ्यांकले बालबालिकामात्र नभई वयस्कहरू पनि संक्रमणको जोखिममा रहेको देखाएका छन्।

गत वर्ष नेपालमा जेई संक्रमणबाट कम्तीमा ४१ जनाको मृत्यु भएको थियो भने १४१ जना संक्रमित भएका थिए। संक्रमण ४५ भन्दा बढी जिल्लाका ११७ भन्दा बढी स्थानीय तहमा फैलिएको थियो।

त्यसअघि २०८१ मा २३ जनाको मृत्यु भएको र कम्तीमा ८० जना संक्रमित भएको तथ्यांक छ। लगातार वर्षेनी संक्रमण र मृत्यु दोहोरिनुले जेई नियन्त्रणका लागि दीर्घकालीन रणनीतिको आवश्यकता देखिएको छ।

तर जोखिममा रहेका सबैलाई खोप उपलब्ध गराउन स्रोतको अभाव मुख्य चुनौती बनेको छ। सरकारले उच्च जोखिमका जिल्लामा लक्षित खोप अभियान सञ्चालन गर्दै आए पनि देशभरका जोखिममा रहेका जनसंख्यालाई समेट्ने अवस्था अझै बनेको छैन।

सरकारले यस वर्ष जेईको उच्च जोखिममा रहेका ११ जिल्लामा खोप अभियान सञ्चालन गर्न ४६ करोड रुपैयाँ छुट्याएको छ। चितवन, कैलाली, तनहुँ, दाङ, झापा, कपिलवस्तु, मोरङ, रूपन्देही, सुनसरी, रौतहट र सर्लाही अभियानका लागि छनोट भएका छन्।

तर खोप खरिद र आपूर्ति प्रक्रियाका कारण अभियान तत्काल सुरु नहुने देखिएको छ। जोखिमको मौसम सुरु भइसकेको अवस्थामा खोप अभियानमा हुने ढिलाइले संक्रमण नियन्त्रणमा चुनौती थप्न सक्ने विज्ञहरूको चिन्ता छ।

जेईविरुद्धको खोप सरकारी स्वास्थ्य संस्थाबाट बालबालिकालाई नियमित रूपमा निःशुल्क दिइँदै आएको छ। निजी क्षेत्रबाट पनि खोप उपलब्ध भए पनि महँगो भएकाले जोखिममा रहेका सबैले आफ्नै खर्चमा लगाउन सक्ने अवस्था छैन।

नेपालमा जेईको जोखिम दशकौँ पुरानो हो। सन् २००५ मा ठूलो संख्यामा मृत्यु भएपछि नेपालले सन् २००६ देखि जेईविरुद्ध खोप अभियान सुरु गरेको थियो। पछि यसलाई नियमित राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिएको हो।

तर पछिल्ला वर्षमा संक्रमण पुनः बढ्दै जानुले खोप कार्यक्रमसँगै रोग निगरानी र लामखुट्टे नियन्त्रणलाई पनि प्रभावकारी बनाउनुपर्ने देखिएको छ।

स्वास्थ्य विज्ञहरूका अनुसार वर्षायाममा पानी जम्ने स्थान हटाउने, घरवरपर सरसफाइ कायम गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने उपाय अपनाउने तथा जोखिम क्षेत्रमा समयमै खोप पुर्‍याउने कामलाई प्राथमिकता दिनुपर्छ।

जेईबाट हुने मृत्यु र दीर्घकालीन अपांगता रोक्न खोपको पहुँच विस्तार गर्नु तत्कालीन आवश्यकता देखिएको छ।

संक्रमण बढेपछि उपचारमा केन्द्रित हुनेभन्दा जोखिम पहिचान गरी समयमै रोकथाममा लगानी गर्नु नै प्रभावकारी उपाय हुने विज्ञहरूको निष्कर्ष छ।

भारतले २७ ठाउँको नाम फेर्दा चीनलाई चसक्क

काठमाडौं । भारतले चीनसँग सीमा विवाद रहेको क्षेत्रमा पर्ने २७ स्थानलाई आफ्नो आधिकारिक नक्सामा नयाँ मानक नामसहित समावेश गरेपछि चीनले त्यसप्रति असन्तुष्टि जनाएको छ। चीनले ‘जाङ्नान’ भनेर दाबी गर्दै आएको र भारतले ‘अरुणाचल प्रदेश’ भन्ने गरेको क्षेत्रमा भारतले गरेको नामकरणलाई चिनियाँ विज्ञहरूले एकपक्षीय कदमका रूपमा व्याख्या गरेका छन्।

चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्समा प्रकाशित विवरणअनुसार भारतको नयाँ नक्सामा चार हिमाली भञ्ज्याङ र एक उच्च हिमाली तालसहित २७ स्थानलाई औपचारिक पहिचान दिइएको छ। भारतले भने भौगोलिक स्थानको सही पहिचान कायम गर्न र ती क्षेत्रको भौगोलिक तथा ऐतिहासिक महत्त्वलाई अभिलेखमा स्पष्ट पार्न नामकरण गरिएको जनाएको छ।

तर चिनियाँ विज्ञहरूको धारणा भने फरक छ। उनीहरूले पछिल्लो निर्णयले दुई देशबीच पछिल्लो समय सुधार हुँदै गएको सम्बन्धमा अनावश्यक तनाव थप्न सक्ने बताएका छन्। सीमा विवाद समाधानका लागि भइरहेका वार्तालाई पनि यसले थप जटिल बनाउन सक्ने उनीहरूको भनाइ छ।

चिङ्ह्वा विश्वविद्यालयअन्तर्गत राष्ट्रिय रणनीति संस्थानका अनुसन्धानकर्ता कियान फङले चीन र भारतबीच सम्बन्ध सुधारका लागि संवाद अघि बढिरहेका बेला विवादित क्षेत्रमा एकतर्फी कदम चाल्नु उपयुक्त नभएको बताएका छन्। उनका अनुसार यस्ता गतिविधिले सीमा विषयलाई पुनः राजनीतिक तनावको केन्द्र बनाउन सक्छ।

भारतको पछिल्लो निर्णय चीन–भारत सीमा मामिलामा परामर्श तथा समन्वयसम्बन्धी कार्य संयन्त्रको ३६औँ बैठकपछि सार्वजनिक भएको हो। अगस्ट ६ मा नयाँ दिल्लीमा भएको उक्त बैठकमा सीमा व्यवस्थापन, सीमा निर्धारण, नियन्त्रण, आपसी संयन्त्र तथा सीमापार सहकार्यका विषयमा छलफल भएको थियो।

बैठकपछि दुवै पक्षले कूटनीतिक तथा सैन्य माध्यमबाट निरन्तर सम्पर्कमा रहने र सीमाक्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्ने प्रतिबद्धता जनाएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

जाङ्नान क्षेत्रका स्थानको नामकरणलाई लिएर चीन र भारतबीच यसअघि पनि पटकपटक विवाद हुँदै आएको छ। चीनले सन् २०१७ देखि उक्त क्षेत्रमा रहेका विभिन्न भौगोलिक स्थानका लागि आफ्नै मानक नाम सार्वजनिक गर्दै आएको छ।

चिनियाँ विवरणअनुसार अहिलेसम्म विभिन्न चरणमा ११२ स्थानका नाम सार्वजनिक गरिएका छन्। तीमध्ये गाउँ, नदी, पहाडी भञ्ज्याङ, चुचुरा तथा अन्य भौगोलिक संरचना समावेश छन्।

भारतले भने चीनले गरेको नामकरणलाई अस्वीकार गर्दै आएको छ। नयाँ नाम राख्दैमा अरुणाचल प्रदेशको भू–राजनीतिक वा प्रशासनिक अवस्थामाथि कुनै असर नपर्ने भारतको धारणा रहँदै आएको छ।

चीन–भारत सीमा विवादको मुख्य ऐतिहासिक आधारमध्ये सन् १९१४ को सिमला सम्मेलनमा प्रस्तावित म्याकमोहन रेखा पनि हो। भारतले यसलाई आफ्नो पूर्वोत्तर सीमाको आधार मान्दै आएको छ। चीनले भने उक्त सीमारेखालाई स्वीकार गरेको छैन।

चीनका अनुसार म्याकमोहन रेखा निर्धारण प्रक्रियालाई तत्कालीन चिनियाँ सरकारले स्वीकार नगरेकोले त्यसलाई वैध अन्तर्राष्ट्रिय सीमा मान्न सकिँदैन। भारत भने अरुणाचल प्रदेश आफ्नो भूभाग भएको दाबीमा कायम छ।

यही फरक दृष्टिकोणका कारण सीमावर्ती क्षेत्रका स्थानको नाम, नक्सा र प्रशासनिक गतिविधिसमेत दुई देशबीच संवेदनशील विषय बन्दै आएका छन्।

शाङ्हाई इन्टरनेसनल स्टडीज युनिभर्सिटीअन्तर्गत दक्षिण एसिया तथा हिन्द महासागर अध्ययन केन्द्रका प्राध्यापक क्वो जुताङले भारतले गरेको नामकरणले विवादित क्षेत्रको कानुनी अवस्थालाई परिवर्तन गर्न नसक्ने बताएका छन्।

उनका अनुसार यस्तो कदमले भारतले आफ्नो क्षेत्रीय दाबीलाई बलियो देखाउने प्रयास गरे पनि यसले वास्तविक सीमा विवाद समाधान गर्दैन। बरु वार्ताका लागि आवश्यक विश्वासको वातावरण कमजोर हुन सक्ने उनको भनाइ छ।

चीनले जाङ्नान क्षेत्रलाई तिब्बतसँग ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्ध रहेको क्षेत्रका रूपमा व्याख्या गर्दै आएको छ।

सीमा तनावका कारण लामो समयदेखि प्रभावित चीन–भारत सम्बन्ध पछिल्लो समय क्रमशः सुधार गर्ने प्रयास भइरहेको छ। दुवै देशका अधिकारीबीच सीमा व्यवस्थापन र सैन्य सम्पर्कका माध्यमबाट तनाव नियन्त्रण गर्ने प्रयास जारी छ।

सन् २०२४ को अन्त्यतिर सीमा मामिलासम्बन्धी वार्तामा समेत विभिन्न विषयमा समझदारी बनेको थियो। त्यस्तै नाथुला नाका पुनः सञ्चालन हुनु र उच्चस्तरीय कूटनीतिक संवाद बढ्नुले दुई देशबीच सम्बन्ध सामान्य बनाउने प्रयास भइरहेको संकेत दिएको छ।

जुलाईमा मनिलामा भएको चीनका विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीचको भेटवार्तामा पनि द्विपक्षीय सम्बन्धलाई सकारात्मक दिशामा अघि बढाउने तथा क्षेत्रीय विषयमा सहकार्य बढाउने विषयमा छलफल भएको थियो।

तर विवादित भूभागमा नयाँ नामलाई आधिकारिक नक्सामा समावेश गर्ने भारतको पछिल्लो कदमले सीमा विवाद पुनः चर्चामा ल्याएको छ।

चीन र भारत दुवैले विवादित क्षेत्रमाथि आ–आफ्नो दाबी कायम राख्दै आएका छन्। यस्तो अवस्थामा स्थानको नाम परिवर्तन वा नक्सामा नयाँ पहिचान थप्ने गतिविधिले विवादको समाधानभन्दा राजनीतिक दाबीलाई मात्र बलियो बनाउने सम्भावना हुन्छ।

सीमा विवाद दीर्घकालीन रूपमा समाधान गर्न नियमित वार्ता, आपसी समझदारी र सीमा क्षेत्रमा स्थिरता कायम गर्नु आवश्यक देखिन्छ। दुवै पक्षले एकअर्काका संवेदनशीलतालाई ध्यानमा राखेर एकपक्षीय गतिविधिभन्दा संवादलाई प्राथमिकता दिए मात्र सम्बन्ध सुधारको पछिल्लो वातावरणलाई निरन्तरता दिन सकिने अवस्था छ।

भारतको नामकरण कदमले विवादित क्षेत्रमाथिको आफ्नो प्रशासनिक दाबी प्रस्तुत गरेको छ भने चीनले त्यसलाई अस्वीकार गर्दै आफ्नो सार्वभौमसत्ताको दाबी दोहोर्याएको छ।

यसले चीन–भारत सीमा विवाद अझै पनि कूटनीतिक सम्बन्धको संवेदनशील विषय रहेको स्पष्ट पारेको छ।

साउनको अन्तिम सोमबार, पशुपतिमा भक्तजनको घुइँचो

काठमाडौं । साउनको अन्तिम सोमबारका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ।

भगवान् शिवको पूजा, आराधना र दर्शनका लागि देशका विभिन्न स्थानबाट आएका श्रद्धालुले पशुपति क्षेत्र भरिभराउ भएको छ।

बिहानैदेखि परेको झरीको समेत प्रवाह नगरी भक्तजनहरू पशुपतिनाथ दर्शनका लागि पुगेका छन्। गेरुवा वस्त्रमा सजिएका हजारौँ श्रद्धालु जल, बेलपत्र तथा विभिन्न पूजा सामग्रीसहित लामबद्ध भएर दर्शनको प्रतीक्षामा छन्।

पशुपति क्षेत्र ‘बोलबम’को नारा, भजन–कीर्तन र धार्मिक गतिविधिले गुञ्जायमान बनेको छ। साउन महिनाको अन्तिम सोमबार भगवान् शिवको पूजा तथा आराधना गर्ने धार्मिक परम्पराअनुसार भक्तजनको संख्या अन्य दिनको तुलनामा उल्लेख्य बढेको हो।

भक्तजनको चापलाई व्यवस्थित गर्न पशुपति क्षेत्र र आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मन्दिर प्रवेश, दर्शन तथा भीड व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ भने भक्तजनलाई सहज रूपमा दर्शन गराउने प्रयास भइरहेको छ।

पशुपतिनाथमा दर्शनार्थीको चाप बढेसँगै गौशाला, तिलगंगा तथा आसपासका सडकमा सवारी आवागमनसमेत प्रभावित भएको छ। सडकमा सवारीको चाप र पैदल यात्रुको संख्या बढेपछि ट्राफिक व्यवस्थापनमा समेत चुनौती देखिएको छ।

साउनको अन्तिम सोमबारलाई विशेष धार्मिक महत्वका साथ मनाउने भएकाले पशुपतिनाथसँगै काठमाडौं उपत्यकाका अन्य शिवालयहरूमा समेत बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ।

तस्वीरहरू:


 

सुस्ता डुब्ने डर, बाँध बाँध्न जुटे स्थानीय र सुरक्षाकर्मी

पश्चिम नवलपरासी। नारायणी नदीमा पानीको बहाव बढेसँगै डुबान र कटानको जोखिम बढेपछि पश्चिम नवलपरासीको सुस्तामा स्थानीयवासी र सुरक्षाकर्मी अस्थायी तटबन्ध निर्माणमा जुटेका छन्।

सुस्ता गाउँपालिका–५ स्थित थारुटोलदेखि सीमास्थलका रूपमा चिनिने सिमलको रुख आसपासको नदी किनारमा बुधबारदेखि स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चौबिसै घण्टा काम गरिरहेको छ। नदीको बहाव बस्तीमा पस्न नदिन बोरामा बालुवा तथा माटो भरेर नाइलनको डोरीले बाँध्दै अस्थायी बाँध निर्माण भइरहेको हो।

सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार तत्काल गाउँलाई डुबान र नदी कटानबाट जोगाउनु नै स्थानीयको पहिलो प्राथमिकता बनेको छ। स्थायी संरचना निर्माण हुन नसकेको अवस्थामा स्थानीय श्रम र उपलब्ध स्रोतसाधन परिचालन गरेर अस्थायी संरक्षणको काम अघि बढाइएको उनले बताए।

‘अहिले हाम्रो पहिलो प्राथमिकता गाउँलाई डुबान र नदी कटानबाट जोगाउनु हो,’ जैसवालले भने, ‘स्थायी समाधान नहुँदासम्म स्थानीयकै श्रम र उपलब्ध साधन प्रयोग गरेर अस्थायी बाँध निर्माण गरिरहेका छौँ।’

सुस्तामा यसअघि स्थानीयले निर्माण गरेको अस्थायी तटबन्ध भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भत्काइदिएको आरोप सार्वजनिक भएपछि नदी कटान र सीमा क्षेत्रको समस्या थप चर्चामा आएको थियो। त्यसपछि स्थानीय प्रशासन तथा सम्बन्धित निकायबीच छलफल भएपछि तत्कालका लागि अस्थायी तटबन्ध निर्माणलाई अघि बढाइएको हो।

यसअघि नारायणी सिँचाइ तथा जल उत्पन्न प्रकोप व्यवस्थापन आयोजना, भरतपुरले ठेक्का प्रक्रियामार्फत स्थायी तटबन्ध निर्माणको तयारी गरेको थियो। तर सीमावर्ती क्षेत्रमा निर्माणका लागि माथिल्लो तहबाट स्वीकृति आवश्यक पर्ने भारतीय पक्षको भनाइपछि काम अघि बढ्न नसकेको स्थानीयको दाबी छ।

स्थायी तटबन्ध निर्माणमा अन्योल भएपछि अहिले अस्थायी संरचनामार्फत बस्ती जोगाउने प्रयास भइरहेको छ। नारायणी सिँचाइ तथा नेपाल गण्डक पश्चिम नहर सिँचाइ व्यवस्थापन कार्यालयले अस्थायी तटबन्ध निर्माणका लागि बोरा र नाइलनको डोरी उपलब्ध गराएको छ। स्थानीयले सरकारी निकायबाट प्राप्त सामग्रीसँगै आफ्नै स्रोतबाट समेत बोरा, बालुवा र डोरी जुटाएर कामलाई तीव्रता दिएका छन्।

नदीको बहाव अझ बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै तटबन्ध निर्माणलाई निरन्तरता दिइएको जैसवालले बताए। आवश्यक परे थप जनशक्ति र सामग्री परिचालन गरेर बस्तीलाई सुरक्षित राख्ने तयारी भइरहेको उनको भनाइ छ।

सुस्ता क्षेत्रमा हरेक वर्ष वर्षायाममा नारायणी नदीको कटान र डुबानको समस्या दोहोरिँदै आएको छ। तत्कालका लागि अस्थायी तटबन्धले जोखिम कम गर्न सहयोग गरे पनि दीर्घकालीन समाधानका लागि स्थायी तटबन्ध निर्माण आवश्यक रहेको स्थानीयको भनाइ छ।

स्थानीयवासीले सीमावर्ती क्षेत्रमा देखिएको प्राविधिक तथा प्रशासनिक जटिलता समाधान गरी नेपाल र भारतका सम्बन्धित निकायबीच समन्वय बढाउन सरकारसँग आग्रह गरेका छन्।

उनीहरूले हरेक वर्ष अस्थायी संरचना निर्माण गरेर जोखिम टार्नेभन्दा दीर्घकालीन तटबन्ध निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन माग गरेका छन्।

तस्वीरहरू:

राजेन्द्र लिङ्देनलाई छाड्दै नेता कार्यकर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एउटै विचार, सिद्धान्त र एजेण्डामा कटिबद्ध सहयात्रीहरूलाई समेट्न नसकेको भन्दै नुवाकोटकाे पञ्क‍न्या गाउँपालिकाका ३३ जना पदाधिकारी तथा सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् ।

राप्रपाभित्र देखिएको वैचारिक विचलन, स्वेच्छाचारी प्रवृत्ति र गुटबन्दीबाट आजित भएको आइतबार राप्रपा परित्याग गर्ने स्थानीय नेताहरूले बताएका छन् । उनीहरु डा. धवलशम्सेर राणा सभापति रहने प्रस्तावित जय नेपाल पार्टीमा आवद्ध हुनेछन् ।

नुवाकोट राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको गृह जिल्ला हो र स्थानीय तहका नेता, कार्यकर्ताहरूको सामूहिक राजीनामा आएपछि राप्रपामा ठूलै हलचल मच्चिएको छ ।

राप्रपाबाट राजीनामा दिनेहरूमा पञ्‍चकन्या गाउँपालिकाका राप्रपा अध्यक्ष चक्रबहादुर कार्की, उपाध्यक्षहरू गीता मिजार र शंकर थापा, सचिव जयराम थापालगायत सदस्यहरू छन् ।

पञ्‍चकन्या गाउँपालिका वडा नं १ का अध्यक्ष मनोजकुमार राई, वडा नं ३ का अध्यक्ष राजु कार्की, वडा नं ४ का अध्यक्ष भक्तबहादुर अधिकारी र वडा नं ५ का अध्यक्ष कर्णप्रसाद सिटौलालगायत पाँचै वडाका अन्य पदाधिकारी तथा सदस्यहरू छन्।

प्रधानमन्त्री बालेनले त्यागे ‘स्टन्ट’ कूटनीति, भेट्दै भारतीय र चिनियाँ राजदूतलाई

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग आज भेटवार्ता गर्दैछन् ।

लगत्तै नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग भेट्ने भएका हुन् । यी दुई छिमेकी देशका कूटनीतिज्ञलाई भेटेपछि भने अमेरिकी कूटनीतिज्ञ स्कट अर्बमलाई भेट्ने तयारीमा प्रधानमन्त्री छन् ।

प्रधानमन्त्रीको सचिवालयले आज बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग र दिउँसो ३ बजे चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्ने तालिका रहेको जनाएको छ ।

प्रधानमन्त्री भएपछिको साढे चार महिनासम्म प्रधानमन्त्री बालेन विदेशी कूटनीतिज्ञसँग सामूहिक भेटको अडानमा रहे । सोही अनुसार कूटनीतिज्ञहरू भेटे । अब भने उनी उक्त अडानबाट पछि हट्दैछन् ।

प्रधानमन्त्री बालेनको भेटघाटको यो क्रमलाई सामान्य औपचारिकताभन्दा माथि उठेर हेर्न थालिएको छ । किनभने नेपालका दुई छिमेकी भारत र चीनसँग प्रत्यक्ष संवादपछि अमेरिकासँग वार्ता गर्ने उनको तयारीले नेपालको परराष्ट्र सम्बन्धलाई सन्तुलित ढंगले अघि बढाउने प्रयास देखाउँछ ।

सुरुवाती चरणमा ‘सबैलाई समान दूरी’को सन्देश दिन शाहले खोजे । अहिले भने सम्बन्धको प्रकृति र नेपालको प्रत्यक्ष हितअनुसार कूटनीतिक संवाद अघि बढाउन खोजिरहेको भारतका लागि पूर्वनेपाली राजदूत निलाम्बर आचार्यले बताए ।

प्रधानमन्त्री बनेलगत्तै शाहले विदेशी नियोगका प्रमुखहरूसँग छुट्टाछुट्टै भेट गर्ने परम्परालाई निरुत्साहित गरेका थिए । उनको जोड सामूहिक छलफलमा थियो ।

सोही अनुसार गत चैत २५ गते उनले २० देशका राजदूत तथा कूटनीतिक प्रतिनिधिसँग एकैपटक भेट गरेका थिए । उक्त अवसरमा भारत, चीन र अमेरिकासहित विभिन्न देशका प्रतिनिधि सहभागी थिए ।

त्यस क्रममा प्रधानमन्त्री शाहले नेपालको विदेश सम्बन्ध कुनै एउटा मुलुक वा शक्तिकेन्द्रको प्रभावमा नपर्ने बताएका थिए । सबै मित्रराष्ट्रसँग समान व्यवहार र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर सम्बन्ध विस्तार गर्ने उनको धारणा थियो ।

यो शैलीले उनलाई परम्परागत कूटनीतिक अभ्यासभन्दा फरक देखाएको थियो । तर, प्रधानमन्त्रीका रूपमा काम गर्दै जाँदा कूटनीतिक सम्बन्ध सञ्चालनका व्यावहारिक जटिलता पनि उनको अनुभवमा थपिँदै गए ।

द्विपक्षीय सम्बन्धमा सबै विषय सामूहिक छलफलबाट समाधान गर्न सम्भव हुँदैन । कतिपय संवेदनशील मुद्दामा प्रत्यक्ष कुराकानी, विश्वास निर्माण र गोप्य परामर्श आवश्यक पर्छ ।

सीमा, व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार, लगानी तथा सुरक्षा सरोकारजस्ता विषयमा सम्बन्धित देशका प्रतिनिधिसँग छुट्टै छलफल गर्नुपर्ने अवस्था आउँछ ।

यसै कारण शाहको पछिल्लो भेटघाटलाई सुरुवाती नीतिको पुनर्विचारका रूपमा हेरिएको छ । प्रधानमन्त्री शाहको कूटनीतिक परिवर्तन भारतसँगको सम्बन्धमा देखिएको छ ।

सरकार गठनपछि उनका भारतीय समकक्षी नरेन्द्र मोदीले शाहलाई बधाई दिँदै भारत भ्रमणका लागि निम्तो दिएका थिए । त्यसबेला दुई देशबीच उच्चस्तरीय भ्रमण र संवादका विषयमा चर्चा चल्यो ।

तर, भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण अन्तिम समयमा रोकियो । बालेन सरकार र भारतबीचको प्रारम्भिक सम्बन्धबारे प्रश्न उठेको थियो । मिस्री नयाँ सरकारसँग छलफल गर्न र प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणबारे वातावरण बनाउन नेपाल आउने तयारीमा थिए ।

त्यस समयमा प्रधानमन्त्री शाहले भारतीय अधिकारीसँग प्रत्यक्ष भेट गर्न रुचि नदेखाएको चर्चा पनि बाहिर आएको थियो । अहिले भने परिस्थिति बदलिएको छ ।

भारतीय राजदूतसँग प्रधानमन्त्री शाहको छुट्टै भेट तय हुनु दुई देशबीच नियमित संवादलाई पुनः सक्रिय बनाउने कदमका रूपमा हेरिएको छ । नेपाल र भारतबीचको सम्बन्ध पनि बहुआयामिक छ ।

दुई देशबीच व्यापार र पारवहनदेखि ऊर्जा, सीमा, पूर्वाधार, पर्यटन र रोजगारीसम्मका विषय जोडिएका छन् । लाखौँ नेपालीको दैनिक जीवनसँग भारतसँगको सम्बन्ध प्रत्यक्ष रूपमा गाँसिएको छ ।

यस्तो अवस्थामा राजनीतिक रूपमा लोकप्रिय देखिने अडानभन्दा व्यावहारिक समाधान खोज्ने संवाद बढी प्रभावकारी हुने पूर्वराजदूत आचार्यले बताए ।

उनको विश्लेषणमा प्रधानमन्त्री शाहले यही वास्तविकतालाई ध्यानमा राखेर आफ्नो शैली परिवर्तन गर्न खोजेको देखिन्छ ।
भारतपछि चिनियाँ राजदूत माओमिङसँग हुने भेटले प्रधानमन्त्रीको छिमेकी नीतिको अर्को महत्वपूर्ण पक्ष उजागर गर्नेछ ।

नेपालको भौगोलिक अवस्थाले भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध राख्न बाध्य बनाउँछ । दक्षिणमा भारत र उत्तरमा चीन रहेको अवस्थामा कुनै एउटा छिमेकीसँगको सम्बन्धलाई मात्र केन्द्र बनाएर विदेश नीति सञ्चालन गर्न सकिँदैन ।

भारतसँग नेपालको सामाजिक र आर्थिक सम्बन्ध पुरानो र व्यापक छ । चीनसँग भने पूर्वाधार निर्माण, व्यापार, कनेक्टिभिटी, लगानी तथा विकास सहकार्यका विषय महत्वपूर्ण बन्दै आएका छन् ।

त्यसैले दुवै देशसँग विश्वास कायम राख्नु नेपालको दीर्घकालीन स्वार्थसँग जोडिएको विषय भएको चीनका लागि नेपाली पूर्वराजदूत डा. टंक कार्की बताउँछन् ।

उनका अनुसार भारतीय र चिनियाँ राजदूतलाई एउटै दिन छुट्टाछुट्टै समय दिएर भेट्नुले पनि प्रधानमन्त्री शाहले दुवै छिमेकीलाई कूटनीतिक रूपमा महत्व दिएको सन्देश दिन खोजेको देखिन्छ ।

दुई छिमेकपछि प्रधानमन्त्री बालेनले अमेरिकी कार्यवाहक राजदूतसँग भेट हुने कार्यक्रमले पनि उनको बदलिँदो कूटनीतिक सोचलाई स्पष्ट पार्छ ।

अमेरिका नेपालसँग सीमा जोडिएको मुलुक होइन । तर आर्थिक सहयोग, विकास साझेदारी, व्यापार, प्रविधि, शिक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका कारण उसको भूमिका महत्वपूर्ण छ ।

विश्व राजनीतिमा प्रभावशाली शक्ति भएकाले अमेरिकासँगको सम्बन्धलाई नेपालले बेवास्ता गर्न सक्दैन । त्यसैले भारत र चीनसँगको प्रत्यक्ष भौगोलिक सम्बन्धलाई प्राथमिकता दिँदै अमेरिकासँग विकास तथा आर्थिक सहकार्यलाई अघि बढाउने प्रयासलाई व्यावहारिक कूटनीतिक कदमका रूपमा लिन सकिने कार्कीले बताए ।

यसले प्रधानमन्त्री शाह कुनै एउटा अन्तर्राष्ट्रिय शक्तिको छातामुनि बस्नेभन्दा विभिन्न देशसँग नेपालको आवश्यकता र हितअनुसार सम्बन्ध विस्तार गर्न खोजिरहेको प्रष्ट हुन्छ ।

झापामा गुञ्‍जियाे शङ्खध्वनि

काठमाडाैं । झापाकाे भद्रपुर- १० चन्द्रगढीमा शङ्खध्वनि प्रतियोगिता सम्पन्न भएकाे छ ।

डाइनामिक ग्रुप नेपालले आयाेजना गरेकाे खुला शङ्खध्वनि प्रतियोगितामा प्रतियाेगी सहभागीहरूमा महिला र पुरुषबीच छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको थियाे ।

वैदिककालदेखि बजाइँदै आएको बाजा शङ्खले मान्छेको शारीरिक, मानसिक स्वास्थ्य तथा पर्यावरणीय क्षेत्रमा खेल्ने सकारात्मक भूमिका र प्रभावको महत्त्व नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले आयोजना गरिएको ग्रुपकी अध्यक्ष खगिन्द्रा खुसीले जानकारी दिइन् ।

कार्यक्रममा महिलातर्फ अप्सरा पराजुली प्रथम, लक्ष्मी कोइराला द्वितीय तथा टीकाकुमारी तिम्सिना तृतीय भएका थिए भने पुरुषतर्फ दीपेन्द्र खतिवडा प्रथम, राजन न्यौपाने द्वितीय तथा गणेश पौडेल तृतीय भएका थिए ।

महिला तथा पुरुष प्रतियोगीहरूका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ नगद राशिसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

धरानदेखि आउनुभएका आचार्य दीपक पराजुली,आचार्य विष्णुदेव र पं. रघुनाथ रिमाल निर्णायकमा रहेको सो कार्यक्रममा पं. रघुनाथ रिमालले पाठेघरमा समस्या हुनसक्ने भएको कारण महिलालाई शङ्ख बजाउन नहुने कुरा उल्लेख गरे भने महिलाले शङ्ख बजाउने उपयुक्त मुद्राका विषयमा समेत जानकारी दिए ।

आचार्य दीपक पराजुलीले भने शास्त्रमा महिलाले शङ्ख बजाउने कुरालाई बर्जित नै गरिएको कुरा उल्लेख गर्दै शास्त्रलाई प्रश्न गर्न नमिल्ने भए पनि आयोजना गरिसकेपछि उद्देश्यअनुसार कार्यक्रम सम्पन्न गर्नुपर्छ भन्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमकी अध्यक्ष खुसीले १० वर्षदेखि सङ्घर्ष गर्दै आएको डाइनामिक ग्रुपका संघर्षका कथा सुनाउँदै विस्तारै स्वावलम्बनको बाटोमा लाग्दै गरेको पनि जानकारी गराइन् ।

कार्यक्रमको प्रायोजनसमेत गरेकोे ओम साई पाथिभरा हस्पिटलका निर्देशक तथा कार्यक्रमका प्रमुख अतिथि बालकुमार पोख्रेलले शङ्खध्वनि आफैंमा महत्त्वपूर्ण कार्य हो भन्दै यस्तो राम्रो कार्यक्रमको आयोजना गर्ने डाइनामिक ग्रुपको पहिलो कार्यक्रम नै यति राम्रो भएको कारण अर्को वर्ष हुने यस कार्यक्रमको दोस्रो शृङ्खलालाई पनि ओम साई पाथिभरा हस्पिटलले नै प्रायोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै, उनले ओम साई पाथिभरा हस्पिटलले ७० वर्ष पूूरा भएका नागरिकहरूलाई विशेष छुट तथा नि:शुल्क सेवा प्रदान गर्ने जानकारी गराए ।

ओम साई पाथीभरा हस्पिटल प्रा. लि.का निर्देशक बालकुमार पोख्रेलको प्रमुख आतिथ्य रहेको कार्यक्रम संस्थाकी सचिव रश्मि असफल तथा कार्यक्रमका संयोजक पिताम्बर अधिकारीले सञ्चालन गरेका थिए ।

लोकसेवा परीक्षा रोक्ने निर्णयले लाखौँ विद्यार्थीको भविष्य अन्योलमा

काठमाडौं । लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरू सामान्यतया सडक आन्दोलन, राजनीतिक प्रदर्शन वा नाराबाजीबाट टाढै रहने समूहका रूपमा चिनिन्छन्। उनीहरूको प्राथमिकता हुन्छ-पढाइ, परीक्षा र प्रतिस्पर्धाबाट सरकारी सेवामा प्रवेश। 

तर पछिल्लो समय यही समूह सरकारको निर्णयविरुद्ध सार्वजनिक रूपमा आक्रोश व्यक्त गर्दै सडकमा उत्रिने चेतावनी दिन थालेको छ।

यसको मुख्य कारण हो-यस वर्ष लोकसेवा आयोगको विज्ञापन तथा परीक्षा सञ्चालनसम्बन्धी सरकारका पछिल्ला निर्णय। सरकारले लोकसेवा आयोगको विज्ञापन नगराउने तथा परीक्षा प्रक्रियामा अन्योल सिर्जना हुने गरी निर्णय गरेपछि वर्षौँदेखि सरकारी सेवाको तयारी गरिरहेका विद्यार्थीहरू असन्तुष्ट बनेका छन्।

अनामनगरस्थित नेसनल प्रेस क्लब नेपालको कार्यालयमा आयोजित ‘लोकसेवा अध्ययनरत विद्यार्थीको पत्रकार सम्मेलन’मा विद्यार्थीहरूले सरकारको निर्णयले आफूहरूको वर्षौँको मेहनत, समय र आर्थिक लगानी जोखिममा परेको बताएका छन्। उनीहरूले सरकारलाई तत्काल निर्णय सच्याउन, लोकसेवा आयोगको विज्ञापन खोल्न, आवश्यक सिट संख्या निर्धारण गर्न र परीक्षा सञ्चालनको स्पष्ट कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन्।

विद्यार्थीहरूको भनाइमा यो केवल एउटा परीक्षाको विषय होइन। यो उनीहरूको रोजगारी, करियर र भविष्यसँग जोडिएको विषय हो। त्यसैले सरकारको निर्णयलाई उनीहरूले सामान्य प्रशासनिक निर्णयभन्दा पनि गम्भीर विषयका रूपमा लिएका छन्।

‘लोकसेवा पढ्ने विद्यार्थी पनि आन्दोलनमा उत्रिनुपर्ने अवस्था आयो’

नायब सुब्बा पदको तयारी गरिरहेका विद्यार्थी मिलन सिंह ठकुरीले सरकारको निर्णयप्रति तीव्र असन्तुष्टि जनाएका छन्। उनका अनुसार लोकसेवा तयारी गरिरहेका विद्यार्थीले आफ्ना समस्या लिएर सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालय तथा अन्य सम्बन्धित निकायमा पुगेर ध्यानाकर्षण गराइसकेका छन्।

उनीहरूले सामान्य प्रशासनमन्त्री प्रतिभा रावललाई समेत आफ्ना मागबारे जानकारी गराएका थिए। मन्त्रीबाट माग सम्बोधन गर्ने आश्वासन पाए पनि त्यसपछि ठोस पहल नभएको विद्यार्थीहरूको गुनासो छ।

विद्यार्थीहरूले सामान्य प्रशासन मन्त्रालयका सचिवलाई भेटेर लिखित विज्ञप्तिसमेत बुझाएका छन्। कानुन मन्त्रालयमा समेत समस्या राखिएको उनीहरूको भनाइ छ। तर विभिन्न निकायमा पुग्दा पनि आफूहरूको मागप्रति अपेक्षित गम्भीरता नदेखाइएको उनीहरूको आरोप छ।

ठकुरीले गृह मन्त्रालयमा पुग्दा आफूहरूलाई आन्दोलन गर्न चुनौती दिइएको आरोपसमेत लगाए। उनका अनुसार गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्कीले ‘आन्दोलन गर्नुस् न, लड्नु न’ भन्दै आफूहरूलाई प्रतिक्रिया दिएको थियो।

विद्यार्थीहरूको बुझाइमा यस्ता अभिव्यक्तिले सरकार उनीहरूको समस्याप्रति संवेदनशील नभएको देखाउँछ।

ठकुरीका अनुसार प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थी लोकसेवाको तयारी गर्छन्। उनले वर्षमा चारदेखि पाँच लाख विद्यार्थी लोकसेवाको तयारीमा रहने दाबी गर्दै उनीहरूको भविष्यबारे सरकारले स्पष्ट बाटो दिनुपर्ने बताए।

उनको प्रश्न सरल छ-यदि लोकसेवा परीक्षा नै रोक्ने हो भने तयारी गरिरहेका विद्यार्थीले अब के गर्ने?

आन्दोलन नगर्ने विद्यार्थी सडकमा आउनुपर्ने अवस्था

कार्यक्रममा सहभागी जेनजी अभियन्ता रविकिरण हमालले लोकसेवा तयारी गरिरहेका विद्यार्थी आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना हुनु नै सरकारका लागि गम्भीर चेतावनी भएको बताए।

उनका अनुसार लोकसेवा तयारी गर्ने विद्यार्थीहरू अन्य राजनीतिक वा सामाजिक समूहजस्तो सहजै आन्दोलनमा सहभागी हुँदैनन्। उनीहरूको अधिकांश समय पढाइमा बित्छ। सरकारी सेवामा प्रवेश गरेर राज्यको सेवा गर्ने उद्देश्यले उनीहरूले वर्षौँसम्म तयारी गर्छन्।

हमालले यही कारण लोकसेवा तयारी गरिरहेका विद्यार्थीलाई आन्दोलनमा आउनुपर्ने अवस्था सिर्जना हुनु सामान्य विषय नभएको बताए।

उनले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङप्रति प्रश्न उठाउँदै युवाको आवाज नसुने परिणाम गम्भीर हुनसक्ने चेतावनी दिए।

भदौ २३ र २४ गतेको युवा आन्दोलनपछि बनेको सरकारले समेत युवाका माग नसुन्नु विडम्बना भएको उनको टिप्पणी थियो। युवाको आन्दोलनबाट सरकार बनेको दाबी गरिने तर त्यही पुस्ताका विद्यार्थीका माग बेवास्ता गरिने हो भने त्यसले सरकार र नागरिकबीचको सम्बन्धमा थप अविश्वास पैदा गर्न सक्ने उनको तर्क छ।

हमालले लोकसेवा तयारी गरिरहेका विद्यार्थीको योग्यता र क्षमतालाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्रीको सचिवालयमा ठूलो संख्यामा नियुक्ति गरिएको विषय उठाउँदै उनले नियुक्ति गर्ने व्यक्तिको योग्यता र प्रक्रिया तथा लोकसेवा पढेर प्रतिस्पर्धा गरिरहेका विद्यार्थीबीच तुलना गर्नुपर्ने प्रश्न उठाए।

उनको तर्क थियो-यदि राज्यका विभिन्न निकायमा नियुक्ति योग्यता र क्षमताका आधारमा हुनुपर्ने हो भने लोकसेवा आयोगमार्फत प्रतिस्पर्धा गरेर आउने प्रणालीलाई कमजोर बनाउनु हुँदैन।

‘सिंहदरबार कब्जा हुन सक्छ’

हमालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै युवाको माग निरन्तर बेवास्ता गरिए पुनः ठूलो आन्दोलन हुनसक्ने चेतावनी दिए।

उनले पासपोर्ट बनाउन नागरिकले लाइन बस्नुपर्ने, खाना पकाउने ग्यासका लागि लामो लाइन लाग्नुपर्ने तथा दैनिक जीवनसँग जोडिएका समस्या बढ्दै गएको उल्लेख गर्दै सरकारको कार्यक्षमतामाथि प्रश्न उठाए।

संसदको भूमिकामाथिसमेत प्रश्न उठाउँदै उनले नागरिकका समस्या समाधान गर्न सरकार र संसद दुवैले गम्भीर बन्नुपर्ने बताए।

उनका अनुसार सरकारभित्रै नीतिगत एकरूपता देखिएको छैन। प्रधानमन्त्रीले एउटा कुरा गर्ने र अर्थमन्त्रीले अर्को कुरा गर्ने अवस्था देखिन थालेको उनको आरोप थियो।

निर्वाचनमा प्राप्त मतलाई स्थायी जनसमर्थन ठान्न नहुने चेतावनी दिँदै उनले विगतका सरकारहरूले पनि ठूलो जनमत पाएको तर समयक्रममा जनताको विश्वास गुमाएको उदाहरण प्रस्तुत गरे।

युवाको मागलाई निरन्तर बेवास्ता गरिए फेरि ठूलो आन्दोलन हुनसक्ने र ‘सिंहदरबार कब्जा’सम्मको अवस्था आउन सक्ने उनको चेतावनी थियो।

एक साताको अल्टिमेटम

लोकसेवा विद्यार्थी तथा संघर्ष समितिका संयोजक दीपक रेग्मीले भने विद्यार्थीहरूले अब आफ्ना माग सम्बोधनका लागि सरकारलाई एक साताको समय दिएका छन्।

रेग्मीका अनुसार २०८३ साल असार ४ गतेको निर्णयको बुँदा नम्बर ११ तथा २०८३ साल जेठ ३० गतेको निर्णयलगायत लोकसेवा आयोगसँग सम्बन्धित पछिल्ला निर्णयप्रति विद्यार्थीको गम्भीर आपत्ति छ।

सरकारले लोकसेवा तयारी गरिरहेका विद्यार्थीको संख्या कम रहेको ठानेर आफूहरूको आवाजलाई बेवास्ता गरिरहेको उनको आरोप छ।

रेग्मीले विद्यार्थीहरूको संघर्षलाई व्यवस्थित बनाउन संघर्ष समिति गठन गरेर अघि बढ्ने तयारी भइरहेको बताए। एक साताभित्र माग सम्बोधन नभए देशभरका लोकसेवा तयारी गरिरहेका विद्यार्थीलाई संगठित गरी आन्दोलनमा उतार्ने उनको चेतावनी छ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनअघि पाँच वर्षमा १२ लाख रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै अहिले लोकसेवा तयारी गरिरहेका विद्यार्थीमाथि सरकारको व्यवहार त्यसको विपरीत रहेको टिप्पणी गरे।

उनका अनुसार सबै नागरिकलाई रोजगारी दिने जिम्मेवारी निजी क्षेत्रको मात्र हुन सक्दैन। राज्यका विभिन्न निकायमा आवश्यक कर्मचारी नियुक्त गर्नुपर्ने भएकाले लोकसेवा आयोगको भूमिका महत्वपूर्ण हुन्छ।

त्यसैले लोकसेवा आयोगको विज्ञापन र परीक्षा प्रक्रियालाई अनिश्चित बनाउनु भनेको हजारौँ युवाको भविष्यलाई अनिश्चित बनाउनु भएको विद्यार्थीहरूको तर्क छ।

‘५/६ वर्षको मेहनत खेर जान्छ’

लोकसेवा तयारी गरिरहेका विद्यार्थीको संघर्ष केवल किताब र कक्षाकोठासम्म सीमित छैन। धेरै विद्यार्थीले आफ्नो पढाइसँगै रोजगारी, आर्थिक समस्या र पारिवारिक जिम्मेवारीसमेत व्यवस्थापन गर्दै तयारी गरिरहेका हुन्छन्।

रेग्मीले हुम्ला, जुम्लाजस्ता दुर्गम क्षेत्रबाट समेत विद्यार्थी लोकसेवाको तयारी गरिरहेको बताए। कतिपय अभिभावकले भारतमा ज्याला मजदुरी गरेर आफ्ना छोराछोरीलाई लोकसेवा पढाइरहेको उनको भनाइ थियो।

यसरी हेर्दा लोकसेवा तयारी एउटा व्यक्तिगत करियरको विकल्प मात्र नभएर धेरै परिवारको आर्थिक र सामाजिक भविष्यसँग जोडिएको विषयसमेत हो।

विद्यार्थीहरूले पाँच-छ वर्षसम्म निरन्तर तयारी गरेर परीक्षा दिने अवस्थामा विज्ञापन नै नखुल्ने वा परीक्षा कहिले हुन्छ भन्ने निश्चित नहुने हो भने उनीहरूको मेहनत खेर जाने अवस्था आउने बताएका छन्।

त्यसैले उनीहरूले सरकारसँग तत्काल स्पष्ट नीति मागेका छन्।

लोकसेवा आयोगको स्वतन्त्रतामाथि प्रश्न

विद्यार्थीहरूको अर्को महत्वपूर्ण चिन्ता लोकसेवा आयोगको स्वतन्त्रता हो।

सरकारले कर्मचारी व्यवस्थापनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याउने तयारी गरेको विषयसँग जोडेर विद्यार्थीहरूले सामान्य प्रशासन मन्त्रालयको भूमिकामाथिसमेत प्रश्न उठाएका छन्।

अनुप चापागाईँले कर्मचारी व्यवस्थापन प्रधानमन्त्री कार्यालय मातहत ल्याउने हो भने सामान्य प्रशासन मन्त्रालयको औचित्य के हुन्छ भन्ने प्रश्न गरे।

उनका अनुसार लोकसेवा आयोग संवैधानिक निकाय भएकाले सरकारले यसको काममा हस्तक्षेप गर्ने वातावरण बन्नु हुँदैन।

विद्यार्थीहरूको मागमा परीक्षा र विज्ञापन खोल्ने विषयसँगै आयोगको संस्थागत स्वतन्त्रता कायम राख्नुपर्ने विषय पनि जोडिएको छ।

उनीहरू लोकसेवा आयोगलाई सरकारको प्रत्यक्ष नियन्त्रणमा राख्ने वा यसको वार्षिक कार्यतालिका प्रभावित गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताउँछन्।

‘हाम्रो समय र लगानीको क्षतिपूर्ति कसले दिने?’

अनुप चापागाईँले सरकारसँग विद्यार्थीको समय र आर्थिक लगानीको प्रश्नसमेत उठाएका छन्।

लोकसेवा तयारी गर्न विद्यार्थीहरूले कक्षा, पुस्तक, कोठा, इन्टरनेटलगायत विभिन्न क्षेत्रमा खर्च गर्ने गरेका हुन्छन्। कतिपयले रोजगारी छाडेर वा अन्य अवसर त्यागेर पनि पूर्णकालीन रूपमा तयारी गरिरहेका हुन्छन्।

यदि सरकारले परीक्षा प्रणालीलाई अनिश्चित बनाउने हो भने त्यसको असर विद्यार्थीको आर्थिक जीवनमा समेत पर्ने उनीहरूको भनाइ छ।

चापागाईँले राजधानीमा बसेर मात्र लोकसेवाको तयारी गर्ने अवस्था सबैको नभएको बताए। गाउँ तथा दुर्गम क्षेत्रबाट आउने विद्यार्थीका लागि लोकसेवा तयारी आफैँमा ठूलो लगानी र संघर्षको विषय हो।

उनले व्यवसायमा जानका लागि ठूलो पूँजी आवश्यक पर्ने भन्दै लोकसेवा तयारी गरिरहेका युवाका लागि राज्यले वैकल्पिक रोजगारीको बाटोसमेत देखाउन नसकेको गुनासो गरे।

‘अब हामीले गर्ने के हो?’ भन्ने उनको प्रश्नले लोकसेवा तयारी गरिरहेका युवामा बढ्दै गएको अन्योललाई प्रतिनिधित्व गर्छ।

मेरिट प्रणालीको पक्षमा विद्यार्थी

विद्यार्थीहरूको सबैभन्दा महत्वपूर्ण मागमध्ये एउटा हो-योग्यता र प्रतिस्पर्धामा आधारित नियुक्ति प्रणाली अर्थात् मेरिट प्रणालीको निरन्तरता।

लोकसेवा आयोगको परीक्षा यही प्रणालीको सबैभन्दा महत्वपूर्ण माध्यम हो। विद्यार्थीहरू वर्षौँसम्म पढेर, प्रतिस्पर्धात्मक परीक्षा दिएर सरकारी सेवामा प्रवेश गर्ने लक्ष्य राख्छन्।

तर यदि आयोगको विज्ञापन तथा परीक्षा प्रणाली नै कमजोर बन्यो भने राजनीतिक पहुँच, नियुक्ति वा अन्य माध्यमबाट सरकारी सेवामा प्रवेश गर्ने सम्भावना बढ्न सक्ने उनीहरूको चिन्ता छ।

चापागाईँले सरकारी स्वकीय सचिवदेखि विभिन्न आयोग तथा निकायमा हुने नियुक्तिसमेत योग्यता र क्षमताका आधारमा हुनुपर्ने बताए।

उनका अनुसार राज्य निर्माणका लागि सक्षम प्रशासन आवश्यक हुन्छ। सक्षम प्रशासन निर्माण गर्न प्रतिस्पर्धात्मक प्रक्रियाबाट आएका दक्ष कर्मचारी आवश्यक हुन्छन्।

त्यसैले लोकसेवा आयोगको परीक्षा केवल विद्यार्थीको रोजगारीको माध्यम मात्र नभएर राज्यको प्रशासनिक क्षमतासँग जोडिएको विषय हो।

‘हामी सडकमा आउन चाहँदैनौँ’

लोकसेवा तयारी गरिरहेका विद्यार्थीहरूको आन्दोलनको चेतावनीमा एउटा महत्वपूर्ण सन्देश पनि छ-उनीहरू आन्दोलन गर्न चाहँदैनन्।

चापागाईँले आफूहरू सडक आन्दोलन गर्न नचाहेको स्पष्ट पारे। देशमा फेरि द्वन्द्व वा अस्थिरता नहोस् भन्ने उनीहरूको चाहना रहेको उनले बताए।

उनीहरूको प्राथमिकता पढ्ने, परीक्षा दिने र योग्यताका आधारमा सरकारी सेवामा प्रवेश गर्ने हो।

तर सरकारको निर्णयले आफ्नो भविष्य नै अन्योलमा पार्न थालेपछि आन्दोलनको विकल्प रोज्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ।

यही कारण उनीहरूले सरकारलाई अहिले नै संवाद र समाधानको बाटो रोज्न आग्रह गरेका छन्।

लोकसेवा तयारी गरिरहेका विद्यार्थीहरूको असन्तुष्टि विस्तार हुँदै गएपछि सरकारसामु मुख्यतः दुई विकल्प देखिन्छन्।

पहिलो, विद्यार्थीहरूसँग संवाद गरेर उनीहरूको माग सम्बोधन गर्ने र लोकसेवा आयोगको विज्ञापन तथा परीक्षा सञ्चालनबारे स्पष्ट कार्यतालिका सार्वजनिक गर्ने।

दोस्रो, माग बेवास्ता गरेर आन्दोलन चर्किन दिने।

विद्यार्थीहरूले एक साताको अल्टिमेटम दिएका छन्। माग सम्बोधन नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिइएको छ। यसले सरकारका लागि समय सीमित हुँदै गएको देखाउँछ।

लोकसेवा परीक्षा केवल एउटा सरकारी परीक्षा होइन। यससँग हजारौँ परिवारको आर्थिक अपेक्षा, लाखौँ युवाको करियर र मुलुकको प्रशासनिक भविष्य जोडिएको छ।

सरकारले परीक्षा रोक्ने वा विज्ञापन नगर्ने निर्णय गर्नुअघि त्यसको दीर्घकालीन प्रभावबारे पर्याप्त विचार गर्नुपर्ने विद्यार्थीहरूको माग छ।

यदि लोकसेवा आयोगमार्फत योग्यताका आधारमा कर्मचारी छनोट गर्ने प्रणालीलाई निरन्तरता दिने हो भने विज्ञापन, परीक्षा र नियुक्तिको स्पष्ट तालिका आवश्यक हुन्छ। यदि सरकारको प्रशासनिक संरचना परिवर्तन गर्ने योजना छ भने त्यसको स्पष्ट विकल्प पनि विद्यार्थीलाई दिनुपर्छ।

वर्षौँदेखि किताब बोकेर पढिरहेका युवालाई ‘अब के गर्ने?’ भन्ने प्रश्नमा अल्झाएर राख्नु कुनै पनि राज्यका लागि दीर्घकालीन समाधान हुन सक्दैन। लोकसेवा तयारी गरिरहेका विद्यार्थीले अहिले मागेको कुरा केवल एउटा परीक्षा सञ्चालन होइन-उनीहरूले आफ्नो भविष्यको स्पष्टता, प्रतिस्पर्धाको समान अवसर र योग्यता तथा क्षमताको सम्मान मागिरहेका छन्।

 

नेपालमा पहिलो अन्तर्राष्ट्रिय व्यावहारिक मनोविज्ञान सम्मेलन सम्पन्न

काठमाडौं। पहिलो अन्तर्राष्ट्रिय व्यावहारिक मनोविज्ञान सम्मेलन (आइक्याप–२०२६) काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमार्फत् मनोवैज्ञानिक अभ्यासलाई उपचार–केन्द्रित दृष्टिकोणबाट रोकथाम–केन्द्रित मोडेलमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाइएको छ ।

काठमाडौं विश्वविद्यालयसँग आबद्ध नेसनल कलेजमा हाइब्रिड (प्रत्यक्ष र अनलाइन) रुपमा आयोजित तीन दिने सम्मेलनमा संंयुक्त राज्य अमेरिका, क्यानडा, भारत, श्रीलंका, बंगलादेश, थाइल्याण्ड, भियतनाम, मलेसिया, अर्जेन्टिना, मेक्सिको, स्पेनलगायत २२ देशका २ सय ४५ जना सहभागीहरूले भाग लिएका थिए ।

आयोजक नेसनल कलेजका उपप्राचार्य छत्र कार्कीका अनुसार सम्मेलनमा १२ वटा भौतिक सत्र र पाँचवटा भर्चुअल सत्र राखिएको थियो, जसमा स्वदेशी तथा विदेशी अनुसन्धाताका जम्मा १ सय ६० वटा शोधपत्र प्रस्तुत गरिएका थिए ।

सम्मेलन समापन सत्रमा आइक्याप २०२६ का कन्फेरेन्स सचिव डा. नरेन्द्रसिंह ठगुन्नाले काठमाडौं घोषणापत्रका मुख्य बुँदाहरुलाई प्रस्तुत गरेका थिए । ‘विश्वविद्यालय, मनोविज्ञानको क्षेत्रमा कार्यरत व्यक्तिहरू र समुदायलाई जोड्न अन्तर्राष्ट्रिय सञ्जाल र साझेदारीलाई बलियो बनउने, विशेष गरी नेपाल र दक्षिण एसियालाई विश्वव्यापी रूपमा मनोविज्ञान समुदायसँग जोड्ने, व्यावहारिक र रोकथामात्मक मनोविज्ञानलाई शैक्षिक पाठ्यक्रममा एकीकृत गर्ने, सिद्धान्तलाई व्यावहारिक, समुदाय–आधारित शिक्षा र इन्टर्नशिपसँग जोड्ने जस्ता कुराहरू घोषणापत्रमा उल्लेख छ,’ ठगुन्नाले भने । डा. ठगुन्नाका अनुसार मनोविज्ञानलाई उपचारबाट रोकथामतर्फ, संस्थानबाट समुदायतर्फ र स्थानीय ज्ञानबाट विश्वव्यापी साझेदारीतर्फ अगाडि बढ्न सम्मेलनले प्रतिबद्धता जनाएको छ ।

काठमाडौं विश्वविद्यालयको भाषा तथा जनसञ्चार विभागका प्रमुख प्रा. डा. निर्मलमणि अधिकारीले अन्तर–सांस्कृतिक दृष्टिकोणको महत्वलाई जोड दिँदै भने, ‘बहु–विषयक र अन्तर–सांस्कृतिक दृष्टिकोणमार्फत विभिन्न सांस्कृतिक ढाँचामा मनोवैज्ञानिक विकारलाई कसरी फरक–फरक रूपमा बुझ्न सकिन्छ । जब हामी आधुनिक मनोवैज्ञानिक अभ्यासलाई अवलोकन गर्छौं, त्यहाँ हामीले अनेक विसंगति देख्न सक्छौं । धेरै स्थापित दृष्टिकोणहरू अत्यधिक पश्चिमीकृत रहेका छन्।’ अहिले शैक्षिक क्षेत्रमा विस्तारै पश्चिमका जन्मिएका चिन्तनहरूमाथि पनि बहस सुरु भइसकेको छ । विभिन्न खालका वैकल्पिक दृष्टिकोणसमेत आउन थालेका डा. अधिकारीको भनाइ छ ।

उद्घाटन सत्रमा भने काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिकेश वाग्लेले मनोविज्ञानको अन्तर–विषयक विषयवस्तुमाथि प्रकाश पार्दै बेरोजगारी र युवा पलायनलगायत चुनौतीहरू सम्बोधन गर्न मनावैज्ञानिक तवरको बुझाइ चाहिने बताएका थिए । काठमाडौं विश्वविद्यालयका स्कुल अफ आर्टसका डिन डा. उद्धव प्याकुरेलले भने, ‘यो सम्मेलन नेसनल कलेज, काठमाडौं विश्वविद्यालयका लागि मात्र नभई नेपालको सम्पूर्ण शैक्षिक समुदायका लागि एउटा ऐतिहासिक अवसर हो । त्यही भएर पनि यो सम्मेलनको विशेष महत्व रहेको छ।’

सम्मेलनका मुख्य वक्ता प्रा. डा. हृदयरत्न बज्राचार्यले आधुनिक मनोविज्ञानसँग बौद्ध धर्मको अन्तरसम्बन्ध रहेको उल्लेख गर्दै टिप्पणी गरे, ‘बौद्ध दर्शनका अनुसार मन नै दुःख र सुख दुवैको मुख्य स्रोत हो । मानव व्यवहारलाई जागरूकता र अभ्यासमार्फत रूपान्तरण गर्न सकिन्छ । यस्ता विषयमा बौद्ध दर्शन र मनोविज्ञान अन्तरसम्बन्धित छन् ।’

आइक्याप–२०२६ का कन्भेनर तथा नेसनल कलेजका प्राचार्य माधवप्रसाद न्यौपानेले सम्मेलनमा भाग लिएका स्वदेशी तथा विदेशी सबै सहभागीहरूलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्तै कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता जनाए । नेसनल कलेजका अध्यक्ष डा. बद्रीदेव पाण्डेले सम्मेलनको औपचारिक समापन गर्दै सम्मलेनले निक्र्योल गरेका मुख्य निचोड सहभागीहरूका लागि लाभदायक हुने बताए

‘त्यो नजर, जसले मलाई फेरि भेट्यो’

आजको दिन शान्त थिएन। यो त्यस्तो साँझ पनि  थिएन, जहाँ हामी घन्टौँ एकअर्काको सामुन्ने बसेर मनका कुरा गर्न सकौँ। वरिपरिको भीड र कोलाहल। आफ्नै हतारमा देखिन्थे मानिसहरु। सबै कुरा सामा  न्य तर सबै असामान्य जस्तै।

त्यही भीड र कोलाहलको बीचमा केही असाधारण भयो, र त्यो पक्कै पुर्वनियोजित थिएन – उसले मलाई हेर्यो।

सायद अरूका लागि त्यो एउटा सामान्य नजर थियो। केही सेकेन्डको एउटा सामान्य नजर। एउटा क्षण, जुन आउछ अनि जान्छ। मौसमजस्तै। एकछिनमा पानी एकछिनमा घाम।

तर मेरा लागि त्यो नजर त्यति सामान्य थिएन। 

त्यो उही नजर थियो, जसलाई मैले समयसँगै लगभग बिर्सिसकेको थिएँ। उही नजर, जसले कुनै समय मलाई यो विश्वास दिलाएको थियो कि म कसैको लागि साँच्चिकै विशेष छु। कसैले मलाई गहिरो प्रेम गरेको थियो। कसैको आँखामा मेरो लागि एउटा छुट्टै संसार थियो। आज धेरै समयपछि फेरि त्यही संसार उसको आँखामा देखेँ।

हामी यसअघि पनि धेरै पटक सँगै बसेका छौँ। हामीसँग थुप्रै सम्झनाहरू छन्। केही हाँसोका, केही मौनताका, केही यस्ता पलका जहाँ हामीले केही नभनी पनि धेरै कुरा बुझ्थ्यौँ। कहिलेकाहीँ त हाम्रो मौनताले नै शब्दभन्दा धेरै कुरा बोल्थ्यो।

तर आजको त्यो नजर अलि फरक थियो।

उसले केही भनेन। मैले पनि केही भनिनँ।

तर त्यहि  मौनता र एक नजरले मेरो मनभित्र वर्षौँदेखि थन्किएर बसेका धेरै कुरा चलायमान बनाइदियो।

एकैछिनमा हरेक निराशा हलुका भएजस्तो लाग्यो। ती निद्रा नलागेका रातहरू सम्झिएँ, जहाँ मनले एउटै प्रश्न दोहोर्‍याइरहन्थ्यो- ‘के साँच्चै सबै सकिएको हो?’ त्यसपछि ती भावनाहरू सम्झिएँ, जुन मैले कसैलाई नभनी आफैँभित्र दबाएर राखे।

तर आज, उसको आँखाले ती सबै भावनालाई केही क्षणका लागि भए पनि शान्त बनाइदियो।

उसको आँखामा केही यस्तो थियो, जुन उसका ओठले कहिल्यै भन्न सकेका थिएनन्। सायद म भ्रममा थिएँ कि ? सायद त्यो मेरो मनले बनाएको तानाबाना पो थियो कि ? 

तर त्यो क्षणमा मलाई केही प्रमाण चाहिएको थिएन। भ्रम नै सहि मलाई मात्र त्यो नजर पर्याप्त थियो। 

मानिसहरू भन्छन् समय बितिसकेपछि प्रेम पहिले जस्तो फर्केर आउँदैन। सायद उनीहरू सही छन्। सायद प्रेम पहिलेको जस्तै फर्केर आउँदैन।

तर कहिलेकाहीँ, एउटा नजरले पुरानो अनुभूतिलाई पुनर्ताजगी गरिदिन्छ । हो त्यहि पुनर्ताजगी आज धेरै वर्षपछि मैले उसको आँखामा त्यही न्यानोपन महसुस गरेँ। त्यही कोमलता, जसले म कुनै समय प्रेमको सागरमा डुबेको थिएँ।

‘उसकी आँखों में जो प्यार था, मैंने आज सालों बाद फिर महसूस किया।’

यस्तै यस्तै। सायद त्यसैले होला, आज म धेरै हाँसेँ।

अभिनय बिनाको हाँसो। कसैलाई देखाउनका लागि नहाँसिएको हाँसो। 

यो कृतिम मुस्कान थिएन। यो मुस्कान आफ्नै मनको परिधिबाट निस्किएको थियो । यो मुस्कुराहट थियो, लामो समयपछि आफ्नै मौन कोलाहलबाट निस्किएको। आफ्नै स्वतन्त्रताबाट आएको।

जबरजस्ती मुस्कुराउनु कस्तो हुन्छ भन्ने कुरा मैले लगभग बिर्सिसकेको थिएँ। आज भने मन हलुका लाग्यो। त्यो नजरपछि मनले धेरै प्रश्न गर्‍यो।

के यो एउटा संयोग थियो? के उसको आँखामा पनि केही बाँकी थियो? के हामीबीचको यात्रा साँच्चिकै सकिएको थियो ? कि मात्र रोकिएको थियो?

मलाई यी प्रश्नहरूको उत्तर थाहा छैन। र सायद थाहा पाउनु पनि आवश्यक छैन। केही भावनाहरूलाई नाम दिनुभन्दा पहिले महसुस गर्नुपर्छ। केही सम्बन्ध अवर्णित रुपमा वर्णित हुन्छन्। भनिन्छ- शब्दहरु भन्दा धेरै मौनता बलियो हुन्छ। हो त्यस्तै- केही प्रश्नहरु अनुत्तरित मिठा लाग्छन् र राम्रा हुन्छन्। सायद यी त्यस्तै प्रश्न हुन्। जो उत्तरबिनै राम्रा छन्।

मलाई थाहा छैन यो प्रेम हो कि पुरानो सम्झनाको पुनरागमन। थाहा छैन यो एउटा क्षण मात्रै हो कि कुनै नयाँ सुरुवातको संकेत।

तर यति थाहा छ -आज उसले मलाई हेर्दा, मैले आफूलाई फेरि भेटेको महसुस गरेँ।

धेरै समयदेखि हराएको त्यो आफू, जो कुनै समय धेरै खुसी थियो। धेरै विश्वास गर्थ्यो। सजिलै प्रेम गर्थ्यो। सानो कुरामा पनि मुस्कुराउँथ्यो। सायद उसको नजरले मलाई होइन, पुरानो मलाई खोज्दै थियो।

यो दिन। त्यो साँझ। त्यो पल। त्यो नजर मेरो लागि साँच्चिकै विशेष छ।

कहिलेकाहीँ माया ठूला वाचा, भव्य भेटघाट वा अन्तहीन कुराकानीबाट फर्किँदैन। कहिलेकाहीँ माया कुनै आवाजबिनै फर्किन्छ। भीडको बीचमा। कोलाहलको बीचमा। एक नजर बनेर।

र त्यो एक नजरले हामीलाई फेरि आफूभित्रको त्यही ठाउँमा पुर्‍याइदिन्छ, जहाँ हामीले कुनै समय प्रेमलाई छोडेर आएका थियौँ।

आज त्यस्तै भयो। उसले मलाई एकपटक हेर्यो। र त्यो एक नजरले मलाई फेरि भेट्यो।

सरकारसँग स्पष्ट विकल्प दिन लोकसेवाका विधार्थीको माग

काठमाडौं । लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरूले आयोगका परीक्षा स्थगित गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आफूहरूको भविष्य अन्योलमा नपार्न सरकारसँग स्पष्ट विकल्प माग गरेका छन्।

नेसनल प्रेस क्लब नेपालको कार्यालय अनामनगरमा आयोजित ‘लोकसेवा अध्ययनरत विद्यार्थीको पत्रकार सम्मेलन’ मा बोल्दै लोकसेवाका विधार्थी अनुप चापागाईँलगायतले सरकारका पछिल्ला निर्णयहरू स्पष्ट नभएको भन्दै लोकसेवा तयारी गरिरहेका विद्यार्थीलाई अन्योलमा राख्न नहुने बताएका हुन्।

कार्यक्रममा बोल्दै अनुप चापागाईँले सरकारले आफ्ना निर्णय र दृष्टिकोण स्पष्ट रूपमा सार्वजनिक गर्न नसक्दा लोकसेवा तयारी गरिरहेका हजारौँ विद्यार्थीको भविष्य प्रभावित भएको बताए। उनले विद्यार्थीहरूले अध्ययनका लागि गरेको समय र आर्थिक लगानीको समेत सरकारले ख्याल गर्नुपर्ने धारणा राखे।

‘लोकसेवा पढिरहेका विद्यार्थीलाई सरकारले स्पष्ट विकल्प दिनुपर्छ। हाम्रो समयको लगानी, खर्चको लगानीको क्षतिपूर्ति दिनुपर्छ सरकारले,’ उनले भने।

राजधानीमा बसेर मात्रै लोकसेवाको तयारी गर्ने अवस्था सबैको नभएको उल्लेख गर्दै चापागाईँले रोजगारीसँगै लोकसेवा तयारी गरिरहेका विद्यार्थीको भविष्य थप अन्योलमा परेको बताए।

उनले कर्मचारी व्यवस्थापन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याउने सरकारको तयारीप्रति समेत प्रश्न उठाए। ‘अब कर्मचारी व्यवस्थापन प्रधानमन्त्री कार्यालय मातहतमा आउन लागेको हो भने सामान्य प्रशासन मन्त्रालय किन चाहियो? मन्त्रालय नै खारेज गरिदिए हुन्छ,’ भन्दै उनले सरकारको प्रशासनिक संरचनासम्बन्धी निर्णयमाथि प्रश्न गरे।

सरकारले आफूहरूका लागि अब कस्तो विकल्प प्रस्तुत गर्छ भन्ने स्पष्ट हुनुपर्ने उनको भनाइ थियो। व्यावसायिक क्षेत्रमा जानका लागि ठूलो पूँजी आवश्यक पर्ने भन्दै उनले लोकसेवा तयारी गरिरहेका विद्यार्थीका लागि राज्यसँग वैकल्पिक बाटोसमेत नरहेको गुनासो गरे।

‘लोकसेवा पढ्ने विद्यार्थीले कस्तो विकल्प रोज्ने अब? हामी व्यवसायमा जान सक्दैनौँ। चार करोड चाहिन्छ। कतै पनि हाम्रो लागि कुनै विकल्प छैन। गर्ने चाहिँ हामीले के हो त अब?’ उनले प्रश्न गरे।

उनले सरकारले सार्वजनिक गर्ने सूचनाको प्रतीक्षा गरेर मात्रै बस्नुपर्ने अवस्था सिर्जना भएको भन्दै विदेश जानुपर्ने बाध्यता आउने हो कि भन्ने प्रश्नसमेत उठाए।

चापागाईँले लोकसेवा आयोगमार्फत योग्यताका आधारमा हुने नियुक्तिको व्यवस्था कमजोर बनाउन नहुने बताए। सरकारले जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको आरोप लगाउँदै उनले पछिल्ला निर्णयहरूमा प्रतिशोधको झल्को देखिएको दाबी गरे।

‘सरकार जेनजी आन्दोलनको मर्मअनुसार अगाडि बढ्न सकेन। सरकारले अहिले प्रतिशोध साँध्ने काम मात्रै गरिरहेको छ। सरकारले लोकसेवा आयोगबाट मेरिटका आधारमा कर्मचारी छनोट हुने व्यवस्थालाई लत्याउन पाइँदैन,’ उनले भने।

उनले लोकसेवा आयोगको वार्षिक कार्यतालिका निर्माणमा सरकारले सहजीकरण गर्नुपर्ने मागसमेत गरे। संवैधानिक आयोगहरू सरकारसँग डराउनुपर्ने अवस्था आउन नहुने भन्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लोकसेवा आयोगको स्वतन्त्रता कायम राख्नुपर्नेमा जोड दिए।

सरकारी स्वकीय सचिव नियुक्ति तथा विभिन्न आयोगमा हुने नियुक्तिसमेत योग्यता र क्षमताका आधारमा हुनुपर्ने उनको भनाइ थियो।

चापागाईँले विद्यार्थीहरू सडक आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना नगर्न सरकारलाई आग्रह गरे। ‘हामी चाहँदैनौँ कि हामीले सडक आन्दोलन गर्नुपरोस्। यो देशमा फेरि द्वन्द्व होस् भन्ने चाहँदैनौँ। हामी यो देश निर्माण र देशको उन्नतिमा सहयोग गर्न चाहन्छौँ,’ उनले भने।

पत्रकार सम्मेलनमा सहभागी विद्यार्थी तथा अभियन्ताहरूले लोकसेवा आयोगको परीक्षा स्थगनसम्बन्धी निर्णय पुनर्विचार गर्न, परीक्षा सञ्चालनको स्पष्ट कार्यतालिका सार्वजनिक गर्न तथा मेरिट प्रणालीलाई निरन्तरता दिन सरकारसँग माग गरेका छन्।

लोकसेवा पढ्ने विद्यार्थीको पत्रकार सम्मेलन गर्नुपर्ने अवस्था दुःखद् : ऋषि धमला

काठमाडौं । वरिष्ठ पत्रकार ऋषि धमलाले लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीले आफ्नो मागका लागि पत्रकार सम्मेलन गर्नुपर्ने अवस्था आउनु दुःखद् भएको बताएका छन्। उनले लोकसेवा तयारी गरिरहेका विद्यार्थीलाई परीक्षा दिन पाउने वातावरण बनाउन र आयोगको विज्ञापन खुलाउन सरकारसँग आग्रह गरेका छन्।

अनामनगरस्थित नेसनल प्रेस क्लब नेपालको कार्यालयमा आयोजित ‘लोकसेवा अध्ययनरत विद्यार्थीको पत्रकार सम्मेलन’ मा बोल्दै धमलाले नेपालमै केही गर्ने र सरकारी सेवामा प्रवेश गर्ने सपना बोकेका युवाले आन्दोलन गर्नुपर्ने अवस्था कसरी आयो भन्ने विषयमा सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने बताए।

‘धेरै मान्छेका धेरै सपना हुन्छन्। ती सपनामध्ये एउटा लोकसेवा आयोग पनि हो। लोकसेवा पढिरहेका मान्छेले यसरी पत्रकार सम्मेलन गर्नुपर्ने स्थिति आउनु दुःखद् कुरा हो। यही देशमा केही गर्छु र यही देशका कार्यालयमा काम गर्छु भन्ने युवाहरूले यसरी आन्दोलन गर्नुपर्ने दिन कसरी आयो? सरकारले सोच्नुपर्छ,’ उनले भने।

विद्यार्थीले परीक्षा दिन पाउनुपर्ने र देशको सेवा गर्ने अवसरबाट वञ्चित गर्न नहुने उनको भनाइ थियो।

‘विद्यार्थीले जाँच दिन नपाउने? देशको सेवा गर्न नपाउने?’ उनले प्रश्न गरे।

लोकसेवा तयारी गरिरहेका विद्यार्थीमध्ये अधिकांश गरिब, किसान तथा मजदुर परिवारका छोराछोरी रहेको उल्लेख गर्दै धमलाले उनीहरूको भविष्य अन्योलमा पार्ने काम गर्न नहुने बताए।

‘म लोकसेवा पढिरहेका विद्यार्थीको पक्षमा छु। लोकसेवा पढ्ने विद्यार्थी गरिब, किसान, मजदुरका छोराछोरी हुन्। उनीहरूले यही देशमा केही गर्छु भन्न नपाउने हो? यो समस्याको समाधान सरकारले खोज्नुपर्छ,’ उनले भने।

धमलाले लोकसेवा तयारी गरिरहेका विद्यार्थीलाई देशको भविष्यको रूपमा चित्रण गर्दै उनीहरूले परीक्षा दिन पाउनुपर्ने र लोकसेवा आयोगले नियमित रूपमा विज्ञापन खुलाउनुपर्ने बताए।

‘लोकसेवाका विद्यार्थी यो देशका भविष्य हुन्। लोकसेवाका विद्यार्थीले परीक्षा दिन पाउनुपर्छ। लोकसेवा आयोगले विज्ञापन खुलाउनुपर्छ। म त्यो मागमा लोकसेवा पढिरहेका विद्यार्थीको पक्षमा चट्टान बनेर उभिन्छु,’ उनले भने।

विद्यार्थीका मागका विषयमा आफूले लोकसेवा आयोग, सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग समेत कुरा गर्ने उनले बताए।

समस्या आउँदा विद्यार्थीहरू आत्तिन नहुने भन्दै धमलाले आज लोकसेवा तयारी गरिरहेका विद्यार्थी नै भोलि देशको प्रशासनिक नेतृत्वमा पुग्ने बताए।

‘भोलि तपाईं नै यो देशको मुख्यसचिव, सचिव, राजदूत बन्नुहुन्छ। यो देशको प्रशासनिक क्षेत्रलाई तपाईंहरूले नेतृत्व गर्नुपर्छ,’ उनले भने।

पुरानो शैलीबाट मात्रै प्रशासन सञ्चालन गर्न नसकिने भन्दै उनले देश निर्माणमा सक्षम र दक्ष प्रशासनको महत्वपूर्ण भूमिका हुने बताए। देशमा भएका विकास निर्माण तथा प्रशासनिक काममा कर्मचारीतन्त्रको योगदान रहेको उल्लेख गर्दै उनले सरकार र प्रशासनबीच सहकार्य आवश्यक रहेको धारणा राखे।

‘पुरानो तरिकाले प्रशासन चल्दैन। देश बनाउने प्रशासनले हो। अब त्यसका लागि तपाईंहरू तयार हुनुपर्छ। यो देशमा जति काम भएका छन्, प्रशासनले बनाएको हो,’ धमलाले भने।

लोकसेवा आयोगले आफ्नो अधिकार प्रयोग गर्दै विज्ञापन खुलाउनुपर्नेमा जोड दिँदै उनले विद्यार्थीलाई आफ्नो अधिकारका लागि शान्तिपूर्ण रूपमा आवाज उठाउन आग्रह गरे।

‘लोकसेवा आयोगले जसरी पनि विज्ञापन खुलाउनुपर्छ। आफ्नो अधिकारका लागि लड्नुपर्छ। तपाईंहरू लड्नुस्। यो आन्दोलन देशका लागि हो, जनताका लागि हो,’ उनले भने।

लोकसेवा आयोगको परीक्षा तथा छनोट प्रक्रियामा कुनै किसिमको धाँधली हुन नहुनेमा समेत धमलाले जोड दिए। लोकसेवा तयारी गरिरहेका विद्यार्थीको आन्दोलनमा पत्रकारिता क्षेत्रले साथ दिने प्रतिबद्धता व्यक्त गर्दै उनले सञ्चारकर्मीहरूलाई उनीहरूको आवाज उठाउन आग्रह गरे।

‘लोकसेवामा धाँधली हुनु हुँदैन। लोकसेवाका विद्यार्थीलाई पत्रकारिता क्षेत्रले सहयोग गर्छ। अहिले सजिलो छ। पत्रकारहरूलाई आह्वान गर्छु– उहाँहरूलाई सहयोग गर्नुस्,’ धमलाले भने।

लोकसेवाका विद्यार्थीको माग एक साताभित्र सम्बोधन नभए देशव्यापी आन्दोलनको चेतावनी

काठमाडौं । लोकसेवा आयोगको परीक्षा तथा विज्ञापनसम्बन्धी सरकारका पछिल्ला निर्णयप्रति असन्तुष्टि जनाउँदै लोकसेवा अध्ययनरत विद्यार्थीहरूले आफ्ना माग एक साताभित्र सम्बोधन गर्न सरकारलाई अल्टिमेटम दिएका छन्। माग सम्बोधन नभए देशभरका लोकसेवा तयारी गरिरहेका विद्यार्थीलाई संगठित गरी आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन्।

अनामनगरस्थित नेसनल प्रेस क्लब नेपालको कार्यालयमा आयोजित ‘लोकसेवा अध्ययनरत विद्यार्थीको पत्रकार सम्मेलन’ मा बोल्दै लोकसेवा विद्यार्थी तथा संघर्ष समितिका संयोजक दीपक रेग्मीले सरकारले हचुवाको भरमा गरेका निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गरे।

रेग्मीले २०८३ साल असार ४ गतेको निर्णयको बुँदा नं. ११ तथा २०८३ साल जेठ ३० गतेको निर्णय लगायत लोकसेवा आयोगसँग सम्बन्धित पछिल्ला निर्णयप्रति विद्यार्थीको गम्भीर आपत्ति रहेको बताए।

सरकारले लोकसेवा तयारी गरिरहेका विद्यार्थीको संख्या थोरै रहेको भ्रम पालेर बसेको आरोप लगाउँदै उनले देशभर लाखौँ विद्यार्थी लोकसेवाको तयारीमा रहेको बताए।

‘सरकार भ्रममा छ– यिनीहरू त थोरै छन् भनेर। तर लोकसेवा पढिरहेका लाखौँ विद्यार्थी छन्। लोकसेवा पढिरहेका विद्यार्थीका माग सरकारले अनिवार्य रूपमा सम्बोधन गर्नुपर्छ। हचुवाको भरमा सरकारले गरेका निर्णय फिर्ता लिनुपर्छ,’ उनले भने।

विद्यार्थीहरूले अब संघर्ष समिति गठन गरेर आन्दोलनलाई व्यवस्थित रूपमा अघि बढाउने तयारी गरेको उनले बताए। आफ्ना माग सम्बोधनका लागि सरकारलाई एक साताको समय दिइएको र उक्त अवधिमा माग पूरा नभए देशभरका लोकसेवा अध्ययनरत विद्यार्थी आन्दोलनमा उत्रिने रेग्मीले चेतावनी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनअघि पाँच वर्षमा १२ लाख रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै रेग्मीले लोकसेवा तयारी गरिरहेका विद्यार्थीप्रति सरकारको व्यवहार त्यसको विपरीत रहेको टिप्पणी गरे।

‘रास्वपाले चुनावअघि पाँच वर्षमा १२ लाख रोजगारी दिने भनेको थियो। तर लोकसेवा पढ्ने विद्यार्थीलाई हेपिरहेको छ। सबै कुरा निजी क्षेत्रले गर्न सक्दैन। सबैलाई रोजगारी निजी क्षेत्रले दिन सक्दैन। सरकारले संवैधानिक निकायमाथि ठाडो हस्तक्षेप गरिरहेको छ,’ उनले भने।

लोकसेवा आयोगको परीक्षा तथा विज्ञापनसम्बन्धी निर्णयले विद्यार्थीमा अन्योल सिर्जना गरेको भन्दै उनले सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरे।

‘कि हामीलाई पनि विदेश जा भनेको हो? यसरी पाँच वर्षमा १२ लाख रोजगारी सिर्जना हुन्छ?’ उनले प्रश्न गरे।

लोकसेवा तयारी गरिरहेका विद्यार्थी देशका विभिन्न दुर्गम क्षेत्रदेखि विदेशमा श्रम गरिरहेका अभिभावकका सन्तानसमेत रहेको उल्लेख गर्दै रेग्मीले उनीहरूको वर्षौँको मेहनत खेर जाने अवस्था सिर्जना गर्न नहुने बताए।

‘यो देशमा सबैभन्दा बढी शिक्षित मान्छे लोकसेवाका विद्यार्थी हुन्। देश बनाउन प्रशासन राम्रो हुनुपर्छ। प्रशासनका लागि लोकसेवा पढेका विद्यार्थी चाहिन्छन्,’ उनले भने।

हुम्ला र जुम्लालगायत दुर्गम क्षेत्रबाट समेत विद्यार्थीले लोकसेवाको तयारी गरिरहेको तथा भारतमा ज्याला मजदुरी गरेर आफ्ना छोराछोरीलाई लोकसेवा पढाइरहेका अभिभावकसमेत रहेको उनले बताए।

‘हामीलाई यसरी हेप्न पाइँदैन। हाम्रो पाँच-छ वर्षको मेहनत खेर जान्छ। हुम्ला, जुम्लाबाट लोकसेवा पढिरहेका छन्। भारतमा ज्याला मजदुरी गरेर छोराछोरीलाई लोकसेवा पढाइरहेका छन्,’ रेग्मीले भने।

लोकसेवा आयोगलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याउने वा आयोगको काममा हस्तक्षेप गर्ने प्रयास भएको हो कि भन्ने प्रश्नसमेत उनले उठाए।

‘अब लोकसेवा आयोग प्रधानमन्त्री कार्यालयअन्तर्गत आएको हो? किन काम गर्न नदिएको हो लोकसेवा आयोगलाई? सामान्य प्रशासन मन्त्रालय एउटा विभाग हो? त्यसो हो भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको एउटा शाखा बनाए भइहाल्यो,’ उनले प्रश्न गरे।

सरकारले जनताको मतबाट निर्वाचित भएर पनि जनअपेक्षाविपरीत काम गरिरहेको आरोप लगाउँदै उनले लोकसेवा आयोगको विषयमा सरकारको धारणा स्पष्ट पार्न माग गरे।

विद्यार्थीहरूले लोकसेवा आयोगको स्वतन्त्रता कायम राख्नुपर्ने, परीक्षा तथा विज्ञापनसम्बन्धी अन्योल तत्काल अन्त्य गर्नुपर्ने र युवालाई रोजगारीको सुनिश्चितता गर्ने दिशामा सरकारले स्पष्ट नीति ल्याउनुपर्ने माग गरेका छन्।

रेग्मीले सरकारले आफ्ना मागलाई गम्भीरतापूर्वक लिएर तत्काल सम्बोधन गर्नुपर्ने भन्दै अन्यथा देशभरका लोकसेवा तयारी गरिरहेका विद्यार्थीलाई आन्दोलनमा उतार्ने चेतावनी दिए।

लोकसेवाका विद्यार्थीको माग सम्बोधन नभए सिंहदरबार कब्जा हुन सक्छ : रविकिरण हमाल

काठमाडौं । जेनजी अभियन्ता रविकिरण हमालले लोकसेवा आयोगको विज्ञापन स्थगित गर्ने सरकारको निर्णयले लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै तत्काल निर्णय सच्याउन माग गरेका छन्। उनले लोकसेवा तयारी गरिरहेका विद्यार्थी आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना हुनु नै दुःखद् भएको बताए।

अनामनगरस्थित नेसनल प्रेस क्लब नेपालको कार्यालयमा आयोजित ‘लोकसेवा अध्ययनरत विद्यार्थीको पत्रकार सम्मेलन’ मा बोल्दै हमालले सामान्यतया आन्दोलनबाट टाढा रहने लोकसेवा तयारी गरिरहेका विद्यार्थीसमेत आफ्नो भविष्यका लागि आन्दोलित हुनुपर्ने अवस्था आएको बताए।

‘नेपालमा आन्दोलन नगर्ने मान्छे लोकसेवाका विद्यार्थी हुन्। सरकारका निकायमा जानुपर्छ भनेर उनीहरू आन्दोलनमा सहभागी हुँदैनन्। नसुतेर बिहानदेखि साँझसम्म पढ्ने विद्यार्थी आन्दोलित बनिरहेका छन्,’ उनले भने।

रोजगारी नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै हमालले सरकारले लोकसेवा तयारी गरिरहेका विद्यार्थीको भविष्य अन्योलमा पार्न नहुने बताए। उनले विद्यार्थीले राखेका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरे।

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङप्रति प्रश्न उठाउँदै हमालले युवाको आवाज नसुने परिणाम गम्भीर हुनसक्ने चेतावनी दिए।

‘को हुन् बालेन शाह? को हुन् सुदन गुरुङ? युवाहरूको आवाज सुन्नुपर्दैन? हिजो केपी ओली र रमेश लेखकले युवाको आवाज नसुन्दा के भयो? त्यसैगरी लाखौँ विद्यार्थी सडकमा आए के हुन्छ?’ उनले प्रश्न गरे।

भदौ २३ र २४ गतेको युवा आन्दोलनपछि बनेको सरकारले समेत युवाका माग नसुन्नु विडम्बना भएको उनको भनाइ थियो। युवाको आन्दोलनबाट सरकार बनेको दाबी गरिँदै आएको अवस्थामा उनीहरूकै मागलाई बेवास्ता गर्न नहुने उनले बताए।

‘भदौ २३ र २४ गते युवाहरूको आन्दोलनबाट आएको सरकारले युवाहरूको कुरा सुन्नुपर्दैन? सरकारले युवाको आवाज सुन्नुपर्छ, युवाहरूका माग सुन्नुपर्छ,’ हमालले भने।

लोकसेवा तयारी गर्ने विद्यार्थीले कठिन संघर्ष गरेर अध्ययन गर्ने गरेको उल्लेख गर्दै उनले उनीहरूको भविष्यमा प्रतिकूल असर पर्ने निर्णयविरुद्ध सबै एकजुट हुनुपर्ने बताए।

हमालले प्रधानमन्त्री शाहको सचिवालयमा ठूलो संख्यामा मानिस नियुक्त गरिएको विषयमा समेत प्रश्न उठाए। उनले सचिवालयमा रहेका व्यक्तिहरूको योग्यता र नियुक्तिको आधारबारे प्रश्न गर्दै लोकसेवा तयारी गरिरहेका विद्यार्थीको योग्यता र क्षमताको अवमूल्यन गर्न नहुने बताए।

‘बालेन शाहले २७ जना मानिस सचिवालयमा राखेका छन्। को हुन् ती मानिसहरू? अनुशासित छन् तिनीहरू? अध्ययन गरेका छन् तिनीहरूले? लोकसेवा पढेका विद्यार्थी जस्ता छन् तिनीहरू?’ उनले प्रश्न गरे।

लोकसेवा तयारी गरिरहेका विद्यार्थी अहिलेका मन्त्री तथा सांसदभन्दा समेत योग्य हुनसक्ने दाबी गर्दै उनले राज्यका विभिन्न निकायमा नियुक्ति गर्दा योग्यता र क्षमतालाई प्राथमिकता दिनुपर्ने बताए।

हमालले मुलुकका विभिन्न क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार असफल भइरहेको आरोपसमेत लगाए। पासपोर्ट बनाउन लाइन बस्नुपर्ने, खाना पकाउने ग्यासका लागि लामो लाइन लाग्नुपर्ने तथा विभिन्न ठाउँमा नागरिकका समस्या बढ्दै गएको उल्लेख गर्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।

संसदको भूमिकामाथि समेत प्रश्न उठाउँदै उनले नागरिकका समस्या समाधान गर्न सरकार र संसद गम्भीर हुनुपर्ने बताए।

‘अहिलेको संसदको काम के हो? तलब खान मात्रै हो? यस्तै गर्नलाई आन्दोलन गरेको हो? यस्तै हुन्छ भनेर निर्वाचन गरेको हो? नागरिकका समस्या समाधान गर्नुपर्दैन?’ उनले प्रश्न गरे।

सरकारभित्रै नीतिगत एकरूपता नरहेको आरोप लगाउँदै हमालले प्रधानमन्त्रीले एउटा कुरा र अर्थमन्त्रीले अर्को कुरा गर्ने अवस्था देखिएको बताए। निर्वाचनमा प्राप्त मतको दम्भ नदेखाउन चेतावनी दिँदै उनले जनताको समर्थन स्थायी नहुने भन्दै विगतका सरकारबाट पाठ सिक्न आग्रह गरे।

‘सरकारमा नै एकरूपता छैन। प्रधानमन्त्रीले एउटा कुरा गर्छन्, अर्थमन्त्रीले अर्को कुरा गर्छन्। मतको दम्भ नदेखाए हुन्छ। मत हिजो केपी ओलीले पनि पाएका थिए। के भयो?’ उनले भने।

सरकारले सबै क्षेत्रलाई अस्तव्यस्त बनाउँदै लगे त्यसको परिणाम वर्तमान नेतृत्वले समेत भोग्नुपर्ने उनको चेतावनी थियो।

उनले विगतका आन्दोलन र त्यसक्रममा भएका घटनाको प्रसंग उठाउँदै वर्तमान सरकारले युवाको मागलाई गम्भीर रूपमा लिनुपर्ने बताए। साथै, लोकसेवा तयारी गरिरहेका लाखौँ विद्यार्थीको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरे।

हमालले युवाहरूको मागलाई निरन्तर बेवास्ता गरिए फेरि ठूलो आन्दोलन हुनसक्ने चेतावनीसमेत दिए।

‘युवाहरूलाई यसरी नै हेपिराख्यो भने फेरि पनि सिंहदरबार कब्जा हुन सक्छ,’ उनले चेतावनी दिए।

लोकसेवाको परीक्षा रोक्ने निर्णयविरुद्ध विद्यार्थीहरु आक्रोशित

काठमाडौं । यस वर्ष लोकसेवा आयोगको विज्ञापन नगराउने सरकारको निर्णयप्रति लोकसेवा तयारी गरिरहेका विद्यार्थीहरूले तीव्र असन्तुष्टि जनाएका छन्। उनीहरूले सरकारको निर्णयले लाखौँ विद्यार्थीको रोजगारीको अधिकार र भविष्यमा प्रत्यक्ष असर परेको भन्दै तत्काल निर्णय सच्याउन माग गरेका छन्।

नेसनल प्रेस क्लब नेपालको कार्यालय, अनामनगरमा आयोजित ‘लोकसेवा अध्ययनरत विद्यार्थीको पत्रकार सम्मेलन’ मा बोल्दै नायब सुब्बा (नासु) पदको तयारी गरिरहेका विद्यार्थी मिलन सिंह ठकुरीले सरकारले यस वर्ष लोकसेवाको विज्ञापन नगराउने निर्णय गरेको भन्दै घोर आपत्ति जनाए।

ठकुरीका अनुसार विद्यार्थीहरूले आफ्ना मागबारे सामान्य प्रशासनमन्त्री प्रतिभा रावललाई समेत ध्यानाकर्षण गराएका छन्। मन्त्री रावलले माग सम्बोधन गर्ने आश्वासन दिएको भए पनि त्यसपछि ठोस पहल नभएको उनले बताए।

विद्यार्थीहरूले सामान्य प्रशासन मन्त्रालयका सचिवलाई समेत भेटेर ध्यानाकर्षण गराउनुका साथै लिखित विज्ञप्तिसमेत बुझाएको बताए। कानुन मन्त्रालयमा समेत आफ्ना समस्या राखेको भए पनि सम्बन्धित निकायबाट अपेक्षित प्रतिक्रिया नआएको ठकुरीको भनाइ छ।

गृह मन्त्रालयमा समेत आफूहरू पुगेको उल्लेख गर्दै उनले गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्कीले आफूहरूलाई आन्दोलन गर्न चुनौती दिएको आरोप लगाए।

‘हामीले हाम्रो समस्या राख्न गृह मन्त्रालय पनि गयौँ। गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्कीले हामीलाई धम्क्याउनुभयो। उहाँले ‘आन्दोलन गर्नुस् न, लड्नु न। आन्दोलन नगर्नु भनेर कसले भनेको छ?’ भन्दै थर्काउनुभयो,’ ठकुरीले भने।

लोकसेवा परीक्षा तथा विज्ञापन रोकिँदा विद्यार्थीको रोजगारीको हकमाथि नै खेलबाड हुने उनको दाबी छ। हरेक वर्ष ठूलो संख्यामा विद्यार्थी लोकसेवाको तयारीमा रहने भन्दै उनले सरकारले उनीहरूको भविष्यबारे स्पष्ट बाटो तय गर्नुपर्ने बताए।

‘वर्षमा ४/५ लाख विद्यार्थी लोकसेवा पढ्छन्। ती ४/५ लाख विद्यार्थीलाई सरकारले बाटो देखाउनुपर्छ। नत्र लोकसेवाको परीक्षा रोक्न पाइँदैन,’ उनले भने।

विद्यार्थीहरूले लोकसेवा आयोगको विज्ञापन तत्काल खुलाउनुपर्ने, आवश्यक सिट संख्या निर्धारण गर्नुपर्ने तथा परीक्षा सञ्चालनको स्पष्ट कार्यतालिका सार्वजनिक गर्नुपर्ने माग राखेका छन्।

सरकारले आफूहरूको मागलाई बेवास्ता गरे कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत ठकुरीले दिए।

‘हाम्रो माग सरकारले सम्बोधन गर्नुपर्छ। हाम्रो सिट संख्या निर्धारण गर्नुपर्छ। यदि सरकारले हाम्रा माग बेवास्ता गरे भदौ २३ र २४ को भन्दा ठूलो आन्दोलन हुन्छ। लाखौँ विद्यार्थी सडकमा आउँछन्,’ उनले चेतावनी दिए।

‘वान टु वान’ राजदुत भेट्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले सय दिन पूरा गरेसँगै उनको कूटनीतिक शैलीमा परिवर्तन देखिन थालेको छ।

सरकार गठनको सुरुवाती चरणमा विदेशी कूटनीतिज्ञसँग व्यक्तिगत भेटवार्ताभन्दा सामूहिक संवादलाई प्राथमिकता दिएका शाह अहिले भने द्विपक्षीय भेटघाटतर्फ फर्किएका छन्।

प्रधानमन्त्री शाहले सोमबार भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग छुट्टाछुट्टै भेट गर्ने तथा त्यसको भोलिपल्ट अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमसँग संवाद गर्ने कार्यक्रम छ। भारत, चीन र अमेरिकाका प्रतिनिधिसँग लगातार हुने यी भेटलाई सरकारको बदलिँदो कूटनीतिक प्राथमिकताको संकेतका रूपमा हेरिएको छ।

शाहले प्रधानमन्त्री नियुक्त भएपछि सबै मित्रराष्ट्रसँग समान दूरी कायम गर्ने भन्दै विदेशी नियोग प्रमुखसँग सामूहिक भेटलाई प्राथमिकता दिएका थिए। तर राज्य सञ्चालनका क्रममा व्यापार, ऊर्जा, पारवहन, पूर्वाधार, सीमा र विकास सहकार्यजस्ता विषयमा प्रत्यक्ष संवाद अपरिहार्य देखिएपछि उनको शैली फेरिएको बुझिन्छ।

भारत र चीनसँग नेपालको प्रत्यक्ष भौगोलिक, आर्थिक तथा सामाजिक सम्बन्ध छ। अमेरिकासँग भने विकास सहयोग, लगानी, प्रविधि र अन्तर्राष्ट्रिय साझेदारीका कारण सम्बन्ध महत्वपूर्ण छ। त्यसैले तीनै मुलुकसँग सन्तुलित सम्बन्ध कायम गर्नु सरकारको मुख्य कूटनीतिक चुनौती हो।

शाहको पछिल्लो अभ्यासलाई प्रारम्भिक अडानबाट पछि हटेकोभन्दा पनि सत्ता सञ्चालनको अनुभवबाट आएको व्यवहारिक परिवर्तनका रूपमा लिन सकिन्छ। महानगरको नेतृत्वमा प्रभावकारी देखिएको कठोर शैली प्रधानमन्त्रीको भूमिकामा भने संवाद र संस्थागत कूटनीतिसँग जोडिनुपर्ने हुन्छ।

विदेश नीतिसँगै सरकार र पार्टीबीचको समन्वयमा पनि प्रत्यक्ष संवाद बढाउने प्रयास भइरहेको छ। रास्वपाले मन्त्रीहरूलाई महिनामा कम्तीमा एकपटक नागरिक, सांसद र पार्टी पंक्तिसँग प्रत्यक्ष भेटघाट गर्ने व्यवस्था अघि सारेको छ।

अब शाहको नयाँ कूटनीतिक शैलीको वास्तविक परीक्षा भेटघाटको संख्याले होइन, त्यसबाट प्राप्त हुने परिणामले गर्नेछ। भारतसँगको सम्बन्धमा प्रगति, चीनसँगको सहकार्य र अमेरिकासँगको आर्थिक तथा विकास साझेदारीमा ठोस उपलब्धि हासिल गर्न सके उनको ‘अडानबाट संवादतर्फ’को यात्रा राजनीतिक परिपक्वताको संकेत बन्न सक्छ।

‘सिंहदरबार’को नाम ‘अनामनगर दरबार’ राख्नुपर्छ ? [भिडियो]

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने धारणा राखेका छन्।

उनले राजनीतिक परिवर्तनपछि मुलुकका विभिन्न स्थान तथा विमानस्थलको नाम परिवर्तन गरिए पनि सिंहदरबारको नाम भने अहिलेसम्म परिवर्तन हुन नसकेको भन्दै प्रश्न उठाएका हुन्।

ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै सांसद ढकालले प्रशासनिक केन्द्रको नामसँगै त्यहाँबाट सञ्चालन हुने शासन प्रणाली, कार्यशैली र सोचमा समेत परिवर्तन आवश्यक रहेको बताए।

उनले नेपालमा सिंह नपाइने उल्लेख गर्दै ‘सिंहदरबार’ नामको औचित्यमाथि प्रश्न गरेका हुन्। राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थानका नाम परिवर्तन भएको उदाहरण दिँदै उनले सिंहदरबारको नाम पनि नयाँ सन्दर्भअनुकूल बनाउन सकिने धारणा राखे।

ढकालले सिंहदरबारको विकल्पका रूपमा ‘अनामनगर दरबार’ जस्तो नाम राख्न सकिने सुझावसमेत दिएका छन्। उनका अनुसार नाम परिवर्तन केवल औपचारिक विषय नभई शासन व्यवस्थामा आएको परिवर्तनलाई व्यवहारमा प्रतिबिम्बित गर्ने माध्यमसमेत बन्न सक्छ।

सांसद ढकालले सिंहदरबारको नाम परिवर्तन गरे मात्र पर्याप्त नहुने बताए। प्रशासनिक केन्द्रबाट हुने कामको शैली, कर्मचारी तथा राजनीतिक नेतृत्वको व्यवहार र निर्णय प्रक्रियामा समेत नयाँपन आवश्यक रहेको उनको भनाइ छ।

उनले सिंहदरबारमा अझै पुरानो शासन प्रणालीको प्रभाव झल्किने भाषा, व्यवहार र कार्यशैली रहेको भन्दै त्यसलाई परिवर्तन गर्नुपर्ने बताए। प्रशासनिक केन्द्रलाई आधुनिक, नागरिकमैत्री र जवाफदेही बनाउने दिशामा सुधार आवश्यक रहेको उनको धारणा छ।

उनका अनुसार राज्य सञ्चालनको मूल केन्द्रमै पुरानो सोच र परम्परागत कार्यशैली कायम रहेसम्म बाहिरबाट मात्र परिवर्तन देखाएर शासन प्रणालीमा वास्तविक सुधार ल्याउन कठिन हुन्छ।

ढकालले प्रशासनिक सुधारको सुरुवात राज्य सञ्चालनको केन्द्रबाटै गर्नुपर्ने बताएका छन्। उनले सिंहदरबारलाई राज्य संयन्त्रको ‘मुहान’का रूपमा व्याख्या गर्दै त्यहीँबाट सुधारको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।

उनका अनुसार शासन प्रणालीमा परिवर्तन आएको लामो समय भए पनि प्रशासनिक संरचनामा पुरानो मानसिकता, भाषाशैली र व्यवहारको प्रभाव अझै देखिनु चिन्ताको विषय हो। त्यसैले राजनीतिक परिवर्तनको भावनाअनुकूल प्रशासनिक संस्कृति विकास गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

सिंहदरबारको नाम परिवर्तन गर्ने विषय ढकालले प्रतीकात्मक रूपमा उठाए पनि उनको मुख्य जोड प्रशासनिक केन्द्रको कार्यशैली र सोच परिवर्तनमा रहेको देखिन्छ। नागरिकलाई सहज सेवा दिने, निर्णय प्रक्रियालाई पारदर्शी बनाउने तथा पुरानो प्रशासनिक संस्कार हटाउने दिशामा सुधार आवश्यक रहेको उनको भनाइ छ।

ढकालले राज्य सञ्चालनको मूल केन्द्रबाटै नयाँ सोच र कार्यसंस्कृतिको सुरुवात गर्न सके त्यसको प्रभाव देशभरको प्रशासनिक संयन्त्रमा पर्ने धारणा राखेका छन्।

चन्द्रमामा कारखाना खोल्दै मस्क

काठमाडौं । अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले भविष्यमा चन्द्रमामै कारखाना स्थापना गरेर उपग्रह तथा अन्तरिक्ष अभियानका लागि आवश्यक विभिन्न सामग्री उत्पादन गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले चन्द्रमामा औद्योगिक पूर्वाधार विकास गर्ने योजनामा रोबोटको महत्वपूर्ण भूमिका रहने बताएका छन्।

स्पेसएक्सको पहिलो त्रैमासिक आम्दानीसम्बन्धी छलफलका क्रममा मस्कले भविष्यमा चन्द्रमाको सतहमा ठूलो परिमाणमा सामग्री पुर्‍याएर त्यहाँ उत्पादन केन्द्र स्थापना गर्ने योजना सार्वजनिक गरेका हुन्।

उनका अनुसार सुरुवाती चरणमा पृथ्वीबाट चन्द्रमासम्म आवश्यक उपकरण तथा सामग्री पुर्‍याइनेछ। त्यसपछि क्रमशः त्यहाँ कारखाना निर्माण गर्दै उत्पादनको क्षमता विस्तार गरिनेछ। चन्द्रमाको कठिन वातावरणमा मानिसभन्दा रोबोटलाई प्राथमिक रूपमा प्रयोग गर्ने योजना रहेको उनले संकेत गरेका छन्।

मस्कले चन्द्रमामा रोबोटको प्रयोग गरेर ठूलो मात्रामा उत्पादन गर्ने अवधारणा अहिले विज्ञान कथाजस्तो लाग्न सक्ने भए पनि आगामी दिनमा यो प्रविधि वास्तविकतामा परिणत हुने दाबी गरेका छन्।

स्पेसएक्सको दीर्घकालीन योजनाअनुसार चन्द्रमामा स्थापना हुने कारखानाबाट कम्पनीको स्टारलिंक नेटवर्कका लागि आवश्यक सामग्री तथा भविष्यमा उपग्रहसमेत उत्पादन गर्न सकिनेछ।

चन्द्रमामा उत्पादन गर्न सकिने सामग्रीमा सौर्य प्यानल र रेडिएटरजस्ता महत्वपूर्ण उपकरण पनि समावेश छन्। सौर्य प्यानलले उपग्रह तथा अन्य अन्तरिक्ष उपकरणलाई आवश्यक ऊर्जा उपलब्ध गराउनेछन् भने रेडिएटरले उपकरणबाट उत्पन्न ताप व्यवस्थापन गर्न सहयोग गर्नेछन्।

यदि चन्द्रमामै यस्ता सामग्री उत्पादन गर्न सकियो भने पृथ्वीबाट प्रत्येक सामग्री अन्तरिक्षमा पठाउनुपर्ने निर्भरता घटाउन सकिने स्पेसएक्सको अवधारणा छ।

मस्कले चन्द्रमामा उत्पादन केन्द्र मात्र स्थापना गर्ने योजना सुनाएका छैनन्। उनले त्यहाँ आवश्यक पूर्वाधार विकास भएपछि चन्द्रमाको सतहबाट अन्तरिक्षमा उपग्रह वा अन्य सामग्री पठाउन विशेष विद्युतीय प्रणाली निर्माण गर्न सकिने सम्भावनासमेत औँल्याएका छन्।

यसका लागि इलेक्ट्रोम्याग्नेटिक मास ड्राइभर अर्थात् शक्तिशाली विद्युतीय प्रविधिमा आधारित प्रक्षेपण प्रणाली विकास गर्न सकिने उनको धारणा छ। यस्तो प्रणालीले परम्परागत रकेटको तुलनामा फरक तरिकाले सामग्रीलाई उच्च गतिमा अन्तरिक्षतर्फ पठाउन सक्ने अवधारणा छ।

मस्कका अनुसार चन्द्रमामा उत्पादन र प्रक्षेपणको पूर्वाधार विकास गर्न सके पृथ्वीबाट अन्तरिक्षमा सामग्री पुर्‍याउने लागत घटाउन सकिनेछ। यसले भविष्यमा चन्द्रमालाई अन्तरिक्ष उद्योगको महत्वपूर्ण आधार बनाउने सम्भावना पनि बढाउनेछ।

चन्द्रमामा कारखाना सञ्चालन गर्न मानिसलाई पठाउनुअघि स्वचालित प्रणाली र रोबोट प्रयोग गर्ने सम्भावना बढी रहेको छ। चन्द्रमाको वातावरण, तापक्रम, विकिरण र पृथ्वीबाटको दूरीका कारण त्यहाँ नियमित रूपमा मानव श्रम प्रयोग गर्नु चुनौतीपूर्ण हुने भएकाले रोबोटिक प्रविधि महत्वपूर्ण बन्नेछ।

मस्कले स्पेसएक्सले चन्द्रमामा प्रयोग गर्ने रोबोटबारे विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। यद्यपि टेस्लाले विकास गरिरहेको ओप्टिमस ह्युमानोइड रोबोटलाई भविष्यमा अन्तरिक्ष अभियानमा प्रयोग गर्ने सम्भावनाबारे उनले यसअघि संकेत गरेका छन्।

स्पेसएक्सले भविष्यमा यस्ता रोबोटलाई मंगल ग्रहसम्म पठाउने योजनासमेत अघि सारेको छ। त्यसैले चन्द्रमामा रोबोटमार्फत पूर्वाधार निर्माण र उत्पादनको अभ्यासलाई अझ टाढाको अन्तरिक्ष अभियानका लागि तयारीका रूपमा पनि हेरिएको छ।

चन्द्रमासम्म ठूलो परिमाणमा सामग्री पुर्‍याउन स्पेसएक्सको नयाँ पुस्ताको विशाल रकेट स्टारसिप महत्वपूर्ण हुने देखिन्छ। स्टारसिप अहिले विकास तथा परीक्षणको चरणमा रहेको छ र कम्पनीले यसलाई पृथ्वीको कक्षाभन्दा बाहिरका अभियानमा प्रयोग गर्ने लक्ष्य राखेको छ।

स्पेसएक्सका प्रमुख वित्तीय अधिकारी ब्रेट जोनसेनका अनुसार स्टारसिपले फाल्कन ९ को तुलनामा निकै ठूलो पेलोड बोक्ने क्षमता विकास गर्ने लक्ष्य राखिएको छ। साथै यसको प्रयोगबाट प्रक्षेपण लागतमा उल्लेख्य कमी ल्याउने कम्पनीको अपेक्षा छ।

कम्पनीले स्टारसिपको नियमित तथा ठूलो संख्यामा प्रक्षेपण गर्न आवश्यक पूर्वाधार पनि विस्तार गरिरहेको जनाएको छ। रकेट इन्जिन उत्पादन क्षमता वृद्धि, नयाँ निर्माणस्थलको विकास र थप प्रक्षेपण प्याड सञ्चालनमा ल्याउने कामलाई त्यसै योजनाको हिस्सा मानिएको छ।

स्पेसएक्सले भविष्यमा वर्षमा हजारौँ स्टारसिप उडान सञ्चालन गर्न सक्ने क्षमताको पूर्वाधार विकास गर्ने लक्ष्य लिएको छ। ठूलो संख्यामा प्रक्षेपण गर्न सके पृथ्वीबाट चन्द्रमा तथा अन्य अन्तरिक्ष गन्तव्यसम्म सामग्री ढुवानीको लागत घटाउन सकिने कम्पनीको अपेक्षा छ।

यही क्षमताको आधारमा चन्द्रमामा आवश्यक उपकरण, निर्माण सामग्री र रोबोट पुर्‍याउने तथा क्रमशः त्यहाँ उत्पादन पूर्वाधार स्थापना गर्ने योजना अघि बढाइएको हो।

स्पेसएक्सको चन्द्रमा कारखानाको अवधारणा सफल रूपमा कार्यान्वयन भएमा चन्द्रमाको भूमिका अनुसन्धान र वैज्ञानिक अध्ययनमा मात्र सीमित नहुन सक्छ। भविष्यमा चन्द्रमाबाटै उपग्रहका सामग्री, ऊर्जा प्रणाली तथा अन्य अन्तरिक्ष उपकरण उत्पादन गर्ने सम्भावना खुल्न सक्छ।

त्यससँगै चन्द्रमामा निर्माण भएको संरचनालाई अन्य ग्रह तथा गहिरो अन्तरिक्ष अभियानका लागि आधारका रूपमा प्रयोग गर्न सकिने सम्भावना पनि रहनेछ।

यद्यपि यस्तो योजना कार्यान्वयन गर्न ठूलो प्राविधिक चुनौती, अत्यधिक लागत, चन्द्रमाको कठोर वातावरण, रोबोटिक प्रविधिको विश्वसनीयता र लामो दूरीको ढुवानी व्यवस्थापनजस्ता विषय समाधान गर्नुपर्ने हुन्छ। अहिलेका लागि यो स्पेसएक्सको दीर्घकालीन अवधारणा भए पनि कम्पनीले स्टारसिप, रोबोटिक्स र अन्तरिक्ष पूर्वाधारमा गरिरहेको लगानीले भविष्यमा चन्द्रमालाई उत्पादन तथा अन्तरिक्ष यातायातको केन्द्र बनाउने दिशामा आफ्नो रणनीति अघि बढाइरहेको संकेत गर्छ।

‘गौंथली’ले कति कमायो ?

काठमाडौं । नेपाली फिल्म ‘गौंथली’ले प्रदर्शनको क्रममा आक्रामक व्यापारलाई निरन्तरता दिइरहेको छ।

फिल्मले आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ।

उक्त रकममध्ये फिल्मको नेट कलेक्सन करिब १७ करोड रुपैयाँ पुगेको बताइएको छ। करिब २ करोड ७५ लाख रुपैयाँको लगानीमा निर्माण भएको फिल्मले छोटो समयमै लगानीको तुलनामा निकै ठूलो व्यापार गर्न सफल भएको हो।

आइतबार सार्वजनिक बिदा परेकाले फिल्मको व्यापार अझ बढ्ने अपेक्षा निर्माण पक्षको छ। दिनको बाँकी समयको व्यापारसमेत जोड्दा ‘गौंथली’को ग्रस कलेक्सन २० करोड रुपैयाँ आसपास पुग्न सक्ने अनुमान गरिएको छ।

फिल्मले दर्शकको उपस्थितिमा पनि उल्लेख्य सफलता हासिल गरेको छ। आइतबार दिउँसोसम्म ७ लाखभन्दा बढी दर्शकले ‘गौंथली’ हेरेको निर्माण पक्षले जनाएको छ। दर्शकको निरन्तर साथ र हलमा कायम रहेको अकुपेन्सीका कारण फिल्मको व्यापार थप उकालो लाग्ने अपेक्षा गरिएको छ।

‘गौंथली’ले यसअघि नै केही चर्चित नेपाली फिल्मको व्यापारिक रेकर्डलाई पछाडि पारिसकेको छ। पछिल्लो शनिबारसम्म फिल्मले ‘जारी’, ‘छक्कापञ्जा ४’ र ‘परान’को कमाइलाई उछिनेको बताइएको छ।

अब फिल्मको लक्ष्य नेपाली फिल्मको सर्वाधिक कमाइको सूचीमा अझ माथि पुग्नु रहेको देखिन्छ।  १२ गाउँ’ले १९ करोड ९२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको तथ्यांकलाई ‘गौंथली’ले छिट्टै पार गर्न सक्ने अनुमान गरिएको छ। आइतबारको व्यापारको गति हेर्दा आज वा भोलिसम्मै उक्त आँकडा पार हुनसक्ने निर्माण पक्षको अपेक्षा छ।

त्यसपछि नेपाली फिल्मको सर्वाधिक कमाइ गर्ने सूचीमा ‘गौंथली’भन्दा अगाडि ‘कबड्डी ४’ र ‘पूर्णबहादुरको सारंगी’ रहनेछन्।

यसरी हेर्दा फिल्मले नेपाली चलचित्रको बक्स अफिसमा नयाँ उपलब्धि थप्ने सम्भावना बलियो देखिएको छ।

घरेलु बजारमा राम्रो प्रदर्शन गरिरहेको ‘गौंथली’ले विदेशमा रहेका नेपाली दर्शकबाट समेत सकारात्मक प्रतिक्रिया र राम्रो व्यापार पाइरहेको निर्माता सुमन गिरीले बताएका छन्।

निर्माता गिरीका अनुसार फिल्मले अमेरिकामा मात्रै करिब २ लाख अमेरिकी डलरको व्यापार गरेको छ। त्यस्तै अस्ट्रेलियामा करिब १ लाख अस्ट्रेलियन डलर तथा दुबईमा करिब ५० हजार दिराम कमाएको उनको भनाइ छ।

डेनमार्क, माल्टा लगायतका युरोपेली बजारबाट पनि फिल्मले करिब २० हजार युरो आम्दानी गरिसकेको निर्माता गिरीले जानकारी दिएका छन्।

विदेशी बजारमा समेत दर्शकको माग कायम रहेकाले फिल्मको अन्तर्राष्ट्रिय कमाइ अझ बढ्ने निर्माण पक्षको अपेक्षा छ।

निर्माता गिरीका अनुसार ‘गौंथली’ अब क्यानडामा समेत प्रदर्शनमा आउने तयारीमा छ। क्यानडामा फिल्मको प्रदर्शन अर्को साताबाट सुरु गर्ने तयारी गरिएको उनले बताएका छन्।

नेपालमा प्राप्त भएको दर्शकीय प्रतिक्रिया र विदेशमा देखिएको व्यापारिक सम्भावनाले फिल्मको कुल आम्दानी अझ माथि पुग्ने अपेक्षा गरिएको छ।

कम लगानीमा निर्माण भएको फिल्मले छोटो समयमै उल्लेख्य व्यापार गर्न सफल भएपछि ‘गौंथली’ अहिले नेपाली फिल्म बजारमा चर्चाको विषय बनेको छ।

घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा यसको प्रदर्शन अझै जारी रहेकाले अन्तिम कमाइ कति पुग्छ भन्ने विषयमा दर्शक तथा फिल्म क्षेत्रको चासो बढेको छ।

‘तर्साएर तर्सिन्नँ, दबाएर दबिन्नँ’

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई कुनै पनि प्रकारको दबाब, डर वा प्रलोभनबाट प्रभावित पार्न नसकिने बताएका छन्।

पार्टीभित्र आगामी महाधिवेशन, नेतृत्वको वैधानिकता र विशेष महाधिवेशनसँग सम्बन्धित विवाद चलिरहेका बेला थापाले आफू पार्टी विधानअनुसार अघि बढ्ने स्पष्ट पारेका हुन्।

आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले आफू पार्टीको विधानभन्दा माथि नरहेको बताए। उनले पार्टीका सबै निर्णय र गतिविधि विधान तथा स्थापित प्रक्रियाअनुसार अघि बढाउनुपर्नेमा जोड दिए।

थापाले आफूलाई दबाब दिएर वा डर देखाएर आफ्नो अडान परिवर्तन गराउन नसकिने संकेत गर्दै पार्टीभित्र विधि र प्रक्रियालाई प्राथमिकता दिने बताए। उनका अनुसार कांग्रेसको नेतृत्व र संगठन सञ्चालनमा व्यक्तिगत दबाबभन्दा विधानको व्यवस्था महत्वपूर्ण हुन्छ।

पार्टीभित्रको विवाद समाधानका क्रममा पुराना नेताहरूको योगदानलाई सम्मान गर्नुपर्नेमा पनि थापाले जोड दिए। उनले पूर्वसभापति शेरबहादुर देउवासहित विगतमा पार्टी नेतृत्व गरेका नेताहरूले कांग्रेस निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनीहरूको योगदानलाई अवमूल्यन गर्न नहुने बताए।

तर, विगतको योगदानलाई सम्मान गर्नुको अर्थ पार्टीभित्र कसैलाई पहिलो र कसैलाई दोस्रो दर्जाको व्यवहार गर्नु नभएको उनको भनाइ थियो। कांग्रेसलाई सबै नेता, कार्यकर्ता र समूहलाई समेटेर अघि बढाउनुपर्ने उनले बताए।

थापाले आगामी पन्ध्रौँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय बनाउनुपर्नेमा विशेष जोड दिएका छन्। विशेष महाधिवेशनमा सहभागी भएका तथा सहभागी नभएका दुवै पक्षका नेता–कार्यकर्तालाई आगामी महाधिवेशन प्रक्रियामा समान रूपमा सहभागी गराउनुपर्ने उनको धारणा छ।

महाधिवेशनको प्रक्रिया निष्पक्ष भएमा पार्टीभित्र देखिएको विवाद क्रमशः समाधान हुने उनको विश्वास छ। सदस्यता विवाद टुंग्याउने कामसमेत अघि बढिसकेको उल्लेख गर्दै उनले अब महाधिवेशनसँग सम्बन्धित बाँकी प्रक्रियामा कुनै प्रकारको पक्षपात हुन नहुने बताए।

महामन्त्री प्रदीप पौडेल नेतृत्वको समितिले सदस्यता विवाद समाधानका लागि काम गरेको उल्लेख गर्दै थापाले संगठनको तल्लो तहसम्मका कार्यकर्ताको सहभागिता सुनिश्चित गर्नुपर्ने बताए।

उनले पार्टीका सामान्य कार्यकर्तामाथि आफूलाई विश्वास रहेको पनि बताए। निर्वाचनमा पार्टी नेतृत्वमै रहेका केही व्यक्तिले समेत मत नदिएको वा अन्तरघात गरेको आरोप लगाउँदै उनले आगामी दिनमा नयाँ पुस्ता, विभिन्न जाति तथा समुदाय र फरक पृष्ठभूमिका व्यक्तिलाई कांग्रेसको संगठनमा जोड्दै लैजानुपर्ने धारणा राखे।

थापाले कांग्रेसको दोस्रो विशेष महाधिवेशनसँग जोडिएको सर्वोच्च अदालतको पुनरावलोकन प्रक्रियालाई पार्टीले कानुनी रूपमा सामना गर्ने बताएका छन्।

उनका अनुसार विशेष महाधिवेशन विधानसम्मत, आवश्यक र औचित्यपूर्ण आधारमा सम्पन्न भएको हो। विशेष महाधिवेशनपछि त्यसबाट भएका निर्णयलाई निर्वाचन आयोगले अद्यावधिक गरेको र आयोगले पनि त्यस प्रक्रियालाई मान्यता दिएको उनको दाबी छ।

विशेष महाधिवेशनको निर्णयविरुद्ध असन्तुष्ट पक्ष अदालत पुगेपछि सर्वोच्च अदालतबाट समेत त्यससम्बन्धी आदेश आएको थापाले बताए। तर, पछिल्लो चरणमा उक्त विषयमा पुनरावलोकन गर्ने निर्णय भएपछि कांग्रेसले अब अदालतमा आफ्नो पक्ष मजबुत रूपमा प्रस्तुत गर्ने उनको भनाइ छ।

थापाले अदालतमा जाने विषयलाई पार्टीले आत्मविश्वासका साथ सामना गर्ने बताए। उनका अनुसार कानुनी प्रक्रियाबाट आएको निर्णयलाई संस्थागत रूपमा सम्मान गर्दै पार्टीले आफ्नो पक्ष र तर्क अदालतसमक्ष राख्नुपर्छ।

विशेष महाधिवेशनसम्बन्धी विवादमा राजनीतिक व्यक्तिहरूले दिने अभिव्यक्तिभन्दा संवैधानिक तथा न्यायिक संस्थाको निर्णयलाई आधार मान्नुपर्ने थापाको भनाइ छ।

सरकारमा रहेका व्यक्तिहरूले अदालतको विषयमा गरेका टिप्पणीलाई भन्दा सर्वोच्च अदालतजस्ता संवैधानिक संस्थाप्रति विश्वास गर्नुपर्ने उनले बताए। उनले विगतमा पनि कांग्रेसका नेता बीपी कोइरालाले न्यायिक संस्थाप्रति विश्वास गरेको प्रसंग उल्लेख गर्दै कानुनी प्रक्रियालाई सम्मान गर्नुपर्ने धारणा राखे।

थापाले विशेष महाधिवेशनमा सहभागी नभएका नेता तथा कार्यकर्तालाई समेत पार्टी नेतृत्व र आगामी संगठनात्मक प्रक्रियामा सहभागी हुन आग्रह गरे।

पार्टीभित्र कुनै पनि समूहलाई अलग राखेर कांग्रेस बलियो बन्न नसक्ने भन्दै उनले सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

तस्वीरहरू:

 

चीनमा टाइफुन ‘डल्फिन’को त्रास, ४ लाख विस्थापित

काठमाडौं । शक्तिशाली टाइफुन ‘डल्फिन’ पूर्वी चीनको तटीय क्षेत्रतर्फ अघि बढेसँगै चीनले आपत्कालीन तयारीलाई तीव्र बनाएको छ।

आँधीको सम्भावित प्रभावबाट जनधनको क्षति रोक्न प्रभावित क्षेत्रका चार लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने साङ्घाईका दुई प्रमुख विमानस्थलबाट सञ्चालन हुने १ हजार ३०० भन्दा बढी उडान रद्द गरिएको छ।

टाइफुनको प्रभाव बढ्दै गएपछि चीनका तटीय प्रान्तमा हवाई तथा जल यातायात प्रभावित भएको छ। साङ्घाईका होङकियाओ र पुडोङ विमानस्थलले आइतबारका लागि निर्धारित करिब ६० प्रतिशत उडान रद्द गरेका छन्। आँधीको गति र वर्षाको अवस्था हेरेर थप उडान स्थगित हुनसक्ने सम्भावना पनि रहेको अधिकारीहरूले बताएका छन्।

आँधीको बाहिरी घेराले शनिबार ताइवानको उत्तरी क्षेत्रमा प्रवेश गर्दा त्यहाँ व्यापक वर्षा भएको थियो। प्रतिकूल मौसमका कारण ताइवानका केही वायुसेवा कम्पनीले चीनतर्फ जाने उडानहरू पनि रद्द गरेका छन्। यसले पूर्वी एसियाली क्षेत्रमा हवाई यातायात प्रभावित हुने क्रम बढेको देखाएको छ।

आइतबार बिहानसम्म टाइफुन ‘डल्फिन’को अधिकतम निरन्तर हावाको गति प्रतिघण्टा करिब १६२ किलोमिटर पुगेको अनुमान गरिएको थियो। आँधीसँगै तीव्र वर्षा भइरहेकाले तटीय तथा पहाडी क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको मौसम अधिकारीहरूले बताएका छन्।

मौसमविद्हरूका अनुसार आँधी आइतबार अबेरसम्म झेजियाङ प्रान्त तथा छिमेकी फुजियान प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान गरिएको छ। आँधीको प्रभावका कारण आगामी केही दिन ती क्षेत्रमा भारी वर्षा हुनसक्नेछ।

पूर्वानुमानअनुसार कतिपय क्षेत्रमा २०० देखि ४०० मिलिमिटरसम्म वर्षा हुनसक्ने सम्भावना छ। छोटो अवधिमा ठूलो मात्रामा वर्षा हुने भएकाले नदी तथा खोलानालामा पानीको सतह बढ्नुका साथै शहरी क्षेत्रमा डुबान र पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च रहने चेतावनी दिइएको छ।

आँधीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै चीनका विभिन्न क्षेत्रमा ठूलो संख्यामा मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। झेजियाङ प्रान्तको ताइझोउ सहरबाट मात्रै शनिबार साँझसम्म करिब ३ लाख ९० हजार मानिसलाई जोखिमयुक्त क्षेत्रबाट अन्यत्र सारिएको थियो।

त्यस्तै, साङ्घाईका जोखिममा रहेका क्षेत्रबाट ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। यसरी विभिन्न क्षेत्रबाट चार लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्।

स्थानीय प्रशासनले विशेषगरी समुद्र नजिकका बस्ती, तल्लो भूभाग र बाढी तथा पहिरोको उच्च जोखिम भएका क्षेत्रमा रहेका बासिन्दालाई प्राथमिकताका आधारमा सुरक्षित स्थानमा पुर्‍याएको छ।

टाइफुनको प्रभाव हवाई यातायातमा मात्र सीमित छैन। झेजियाङका अधिकारीहरूले फेरी, क्रुजलगायतका जल यातायातका गतिविधि पूर्ण रूपमा स्थगित गरेका छन्।

समुद्रमा तीव्र हावा र ठूलो छाल आउन सक्ने भएकाले यात्रु तथा चालक दलको सुरक्षालाई ध्यानमा राखेर जल यातायात बन्द गरिएको हो। बन्दरगाह तथा तटीय क्षेत्रमा पनि उच्च सतर्कता अपनाइएको छ।

अधिकारीहरूले सम्भावित बाढी र पहिरोबाट बच्न स्थानीय बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न, स्थानीय प्रशासनको निर्देशन पालना गर्न तथा मौसमसम्बन्धी पछिल्ला सूचनामा ध्यान दिन भनिएको छ।

भारी वर्षा र तीव्र हावाका कारण सडक, विद्युत् सेवा तथा अन्य पूर्वाधार प्रभावित हुनसक्ने जोखिमसमेत बढेको छ। सम्भावित क्षति र आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै उद्धार तथा राहत टोलीलाई तयारी अवस्थामा राखिएको छ।

बाढी र पहिरोको जोखिम भएका क्षेत्रमा स्थानीय प्रशासनले निगरानी बढाएको छ। नदी तथा जलाशयको पानीको सतहमा निरन्तर निगरानी राख्नुका साथै आवश्यक परे थप स्थानबाट मानिसलाई सुरक्षित क्षेत्रमा सार्ने तयारी गरिएको छ।

चीनतर्फ अघि बढ्नुअघि नै टाइफुनको बाहिरी घेराको प्रभाव ताइवानमा देखिएको थियो। उत्तरी ताइवानमा शनिबार भारी वर्षा भएको थियो। प्रतिकूल मौसमका कारण केही हवाई उडान प्रभावित भए।

मौसम प्रणालीको विस्तारका कारण आँधीको प्रत्यक्ष प्रभाव पर्ने क्षेत्रबाहेक आसपासका क्षेत्रमा पनि वर्षा र तीव्र हावाको असर देखिनसक्ने मौसमविद्हरूले बताएका छन्।

टाइफुन ‘डल्फिन’को सम्भावित मार्ग पूर्वी चीनका घना बस्ती तथा आर्थिक गतिविधि बढी हुने क्षेत्रतर्फ रहेकाले अधिकारीहरूले विशेष सतर्कता अपनाएका छन्। साङ्घाईजस्ता ठूला सहरमा हवाई यातायात प्रभावित हुनुका साथै तटीय क्षेत्रमा जल यातायात बन्द हुँदा दैनिक जनजीवनमा समेत असर परेको छ।

आँधीको वास्तविक प्रभाव त्यसको मार्ग, हावाको गति र वर्षाको तीव्रतामा निर्भर रहने भएकाले चिनियाँ अधिकारीहरूले परिस्थिति निरन्तर मूल्यांकन गरिरहेका छन्। मौसम अवस्था थप खराब भएमा उडान तथा जल यातायातमा लगाइएको प्रतिबन्ध लम्बिन सक्ने र जोखिमयुक्त क्षेत्रबाट थप मानिसलाई सुरक्षित स्थानमा सार्न सकिने बताइएको छ।

यसबीच स्थानीय प्रशासनले नागरिकलाई हल्लाको पछि नलागी आधिकारिक सूचनामात्र पछ्याउन र आपत्कालीन अवस्थामा प्रशासनले दिएको निर्देशन तत्काल पालना गर्न आग्रह गरेको छ।

अहिलेको प्राथमिकता मानवीय क्षति रोक्नु र आँधीको प्रभावबाट प्रभावित हुनसक्ने क्षेत्रमा पूर्वतयारी बलियो बनाउनु रहेको अधिकारीहरूको भनाइ छ।

काठमाडौं घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय व्यावहारिक मनोविज्ञान सम्मेलन सम्पन्न

काठमाडौं–काठमाडौं विश्वविद्यालयसँग आबद्ध नेसनल कलेजमा आयोजित पहिलो अन्तर्राष्ट्रिय व्यावहारिक मनोविज्ञान सम्मेलन (आइक्याप २०२६) काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनले मनोवैज्ञानिक अभ्यासलाई उपचार–केन्द्रित दृष्टिकोणबाट रोकथाम–केन्द्रित मोडेलमा रूपान्तरण गर्ने ऐतिहासिक प्रतिबद्धता जनाएको छ।

हाइब्रिड (प्रत्यक्ष र अनलाइन) रूपमा आयोजित तीनदिने सम्मेलनमा संयुक्त राज्य अमेरिका, क्यानडा, भारत, श्रीलंका, बंगलादेश, थाइल्याण्ड, भियतनाम, मलेसिया, अर्जेन्टिना, मेक्सिको, स्पेनलगायत २२ देशका २ सय ४५ जना सहभागी भएका थिए।

समापन सत्रमा आइक्याप २०२६ का कन्फेरेन्स सचिव डा. नरेन्द्र सिंह ठगुन्नाले सम्मेलनको काठमाडौं घोषणापत्रका मुख्य बुँदा प्रस्तुत गरेका थिए। उनका अनुसार विश्वविद्यालय, मनोविज्ञानको क्षेत्रमा कार्यरत व्यक्ति र समुदायलाई जोड्न अन्तर्राष्ट्रिय सञ्जाल तथा साझेदारी बलियो बनाउने, विशेषगरी नेपाल र दक्षिण एसियालाई विश्वव्यापी मनोविज्ञान समुदायसँग जोड्ने विषय घोषणापत्रमा समेटिएको छ।

त्यसैगरी व्यावहारिक तथा रोकथामात्मक मनोविज्ञानलाई शैक्षिक पाठ्यक्रममा एकीकृत गर्ने, सिद्धान्तलाई व्यावहारिक तथा समुदायमा आधारित शिक्षा र इन्टर्नशिपसँग जोड्ने विषयमा पनि सम्मेलनले जोड दिएको छ। ठगुन्नाका अनुसार मनोविज्ञानलाई उपचारबाट रोकथामतर्फ, संस्थानबाट समुदायतर्फ र स्थानीय ज्ञानबाट विश्वव्यापी साझेदारीतर्फ अगाडि बढ्न सम्मेलनले प्रतिबद्धता जनाएको छ।

काठमाडौं विश्वविद्यालयको भाषा तथा जनसञ्चार विभागका प्रमुख प्रा. डा. निर्मल मणि अधिकारीले अन्तर–सांस्कृतिक दृष्टिकोणको महत्त्वमा जोड दिए। उनले विभिन्न सांस्कृतिक ढाँचामा मनोवैज्ञानिक विकारलाई फरक–फरक रूपमा बुझ्न सकिने भन्दै आधुनिक मनोवैज्ञानिक अभ्यासमा अनेक विसंगति रहेको बताए।

उनले धेरै स्थापित मनोवैज्ञानिक दृष्टिकोण अत्यधिक पश्चिमीकृत रहेको उल्लेख गर्दै अहिले शैक्षिक क्षेत्रमा पश्चिममा विकसित चिन्तनमाथि समेत बहस सुरु भएको बताए। उनका अनुसार विभिन्न वैकल्पिक दृष्टिकोणसमेत विस्तारै आउन थालेका छन्।

उद्घाटन सत्रमा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिकेश वाग्लेले मनोविज्ञानको अन्तर–विषयक विषयवस्तुमाथि प्रकाश पार्दै बेरोजगारी र युवा पलायनलगायत चुनौती सम्बोधन गर्न मनोवैज्ञानिक बुझाइ आवश्यक रहेको बताए।

काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्टसका डिन डा. उद्धव प्याकुरेलले सम्मेलन नेसनल कलेज र काठमाडौं विश्वविद्यालयका लागि मात्र नभई नेपालको सम्पूर्ण शैक्षिक समुदायका लागि ऐतिहासिक अवसर भएको बताए। उनले त्यसकारण पनि सम्मेलनको विशेष महत्त्व रहेको उल्लेख गरे।

मुख्य वक्ता प्रा. डा. हृदय रत्न बज्राचार्यले आधुनिक मनोविज्ञान र बौद्ध धर्मबीचको अन्तरसम्बन्धबारे चर्चा गरे। उनका अनुसार बौद्ध दर्शनमा मन नै दुःख र सुख दुवैको मुख्य स्रोत मानिन्छ र मानव व्यवहारलाई जागरूकता तथा अभ्यासमार्फत रूपान्तरण गर्न सकिन्छ। यस अर्थमा बौद्ध दर्शन र मनोविज्ञानबीच अन्तरसम्बन्ध रहेको उनले बताए।

आयोजक नेसनल कलेजका उपप्राचार्य छत्र कार्कीका अनुसार सम्मेलनमा १२ वटा भौतिक र पाँचवटा भर्चुअल सत्र सञ्चालन भएका थिए। ती सत्रमा स्वदेशी तथा विदेशी अनुसन्धाताका गरी जम्मा १ सय ६० वटा शोधपत्र प्रस्तुत गरिएको थियो।

आइक्याप २०२६ का कन्भेनर तथा नेसनल कलेजका प्राचार्य माधवप्रसाद न्यौपानेले सम्मेलनमा सहभागी स्वदेशी तथा विदेशी सबैलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्ता कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाए।

नेसनल कलेजका अध्यक्ष डा. बद्रीदेव पाण्डेले सम्मेलनको औपचारिक समापन गर्दै सम्मेलनले निक्र्योल गरेका मुख्य निष्कर्ष सहभागीहरूका लागि लाभदायक हुने बताए।

मन्त्री महिनाको एकपटक जनताको कठघरामा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई नागरिक र पार्टी पंक्तिसँग नियमित प्रत्यक्ष संवादमा जोड्ने निर्णय गरेको छ।

पार्टीले मन्त्रीहरूले महिनामा कम्तीमा एकपटक पार्टी कार्यालयमा उपस्थित भएर नागरिक तथा पार्टीका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्नुपर्ने व्यवस्था गरेको हो।

रास्वपाका सहमहामन्त्री एवं प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले भदौ महिनादेखि मन्त्रीहरूको नियमित भेटघाट कार्यक्रम सुरु हुने जानकारी दिएका छन्।

पार्टीले जारी गरेको विज्ञप्तिअनुसार भेटघाटको पहिलो चरणमा मन्त्रीहरू अपराह्न ५ बजेदेखि ६ बजेसम्म नागरिकका लागि उपलब्ध हुनेछन्। उक्त समयमा सर्वसाधारणले आफ्ना गुनासा, सुझाव, समस्या तथा सरकारसँग सम्बन्धित विषय प्रत्यक्ष रूपमा मन्त्रीसमक्ष राख्न सक्नेछन्।

त्यसपछि साँझ ६ बजेपछि मन्त्रीहरूले पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसदहरूसँग संयुक्त बैठक गर्ने व्यवस्था गरिएको छ। सरकार सञ्चालनका क्रममा देखिएका समस्या, नागरिकका अपेक्षा तथा पार्टी र सरकारबीचको समन्वयका विषयमा बैठकमा छलफल हुने जनाइएको छ।

रास्वपाका अनुसार नागरिक, सरकारका मन्त्री र पार्टीका सांसदबीचको समन्वयलाई थप प्रभावकारी बनाउनु कार्यक्रमको मुख्य उद्देश्य हो। मन्त्रीहरूलाई जनतासँग प्रत्यक्ष जोड्दै उनीहरूको कामकारबाहीप्रति थप उत्तरदायी र जवाफदेही बनाउने अपेक्षा पार्टीले गरेको छ।

पछिल्लो समय सरकारका कामकारबाही, मन्त्रीहरूको कार्यसम्पादन र पार्टी तथा सरकारबीचको समन्वयलाई लिएर विभिन्न प्रश्न उठिरहेका बेला रास्वपाले यस्तो व्यवस्था अघि सारेको हो। नियमित भेटघाटले सरकारका निर्णय र कार्यान्वयनबारे नागरिकको प्रतिक्रिया बुझ्न तथा पार्टी पंक्तिबाट आएका सुझावलाई सरकारसम्म पुर्‍याउन सहयोग पुग्ने पार्टीको विश्वास छ।

यस व्यवस्थामार्फत मन्त्रीहरूलाई मन्त्रालयको नियमित कामसँगै जनतासँग प्रत्यक्ष संवादमा जोड्ने प्रयास गरिएको छ। पार्टीले नागरिकका गुनासा र सुझावलाई केवल औपचारिक रूपमा सुन्ने नभई सरकारको नीति तथा कार्यसम्पादनमा आवश्यकताअनुसार समेट्ने उद्देश्यसमेत राखेको जनाएको छ।

भदौदेखि सुरु हुने यो कार्यक्रमलाई रास्वपाले सरकार र नागरिकबीचको दूरी घटाउने तथा पार्टी, सांसद र मन्त्रीबीचको समन्वय बलियो बनाउने माध्यमका रूपमा अघि सारेको छ।

रवि-बालेन गुट स्पष्ट

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्रको आन्तरिक असन्तुष्टि र गुटगत दूरी अब सामाजिक सञ्जालका अभिव्यक्तिमार्फत् समेत सतहमा आउन थालेको छ।

पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहनिकट समूहबीच देखिएको असहज सम्बन्ध नेताहरूका पछिल्ला गतिविधि र अभिव्यक्तिबाट थप प्रस्ट हुँदै गएको छ।

प्रतिनिधिसभाको पछिल्लो बैठकमा रास्वपाका पूर्वप्रवक्ता तथा सांसद मनिष झाले प्रधानमन्त्रीसहित सरकारको नेतृत्व गरिरहेको समूहलाई ‘कालो चश्मा’ हटाएर जनतामा देखिएको असन्तुष्टि र निराशातर्फ हेर्न आग्रह गरेका थिए। उनले सरकारले बाह्य रूपमा केही प्रतीकात्मक सुधार गरे पनि अब वास्तविक समस्या पहिचान गर्न दृष्टिकोणमै परिवर्तन आवश्यक रहेको संकेत गरेका थिए।

झाको अभिव्यक्तिपछि रास्वपाभित्रै ‘कालो चश्मा’ सामाजिक सञ्जालको व्यङ्ग्यात्मक राजनीतिक संकेत बनेको देखिएको छ।

पार्टी सभापति रवि लामिछानेनिकट मानिने नेता दीपक बोहराले फेसबुकमा आफ्नो तस्बिर सार्वजनिक गर्दै ‘मैले त कालो चश्मा खोलेँ है !’ लेखेपछि त्यसलाई प्रधानमन्त्री बालेन्द्र शाह पक्षलाई लक्षित सन्देशका रूपमा अर्थ्याउन थालिएको छ।

बोहरा लामिछानेनिकट नेताका रूपमा चिनिने भएकाले उनको उक्त अभिव्यक्तिले पार्टीभित्रको शक्ति समीकरणबारे थप चर्चा जन्माएको छ। सामान्य व्यक्तिगत तस्बिरसँग जोडिएको एउटा छोटो वाक्य भए पनि त्यसको समय र सन्दर्भलाई हेर्दा यसलाई राजनीतिक सन्देशका रूपमा बुझ्नेहरू बढेका छन्।

रास्वपाका केही नेता तथा कार्यकर्ताले समेत सामाजिक सञ्जालमा ‘कालो चश्मा खोल्ने’ शैलीका पोस्ट गर्न थालेका छन्। उनीहरूका अभिव्यक्तिमा सरकारप्रति जनतामा बढिरहेको असन्तुष्टि, सरकारको कार्यशैली र नेतृत्वको व्यवहारमाथि प्रश्न उठाइएको देखिन्छ।

यसअघि संसदमा सांसद मनिष झाले प्रधानमन्त्री शाहसहित सरकारका केही मन्त्रीलाई लक्षित गर्दै ‘कालो चश्मा’को प्रसंग उठाएका थिए।

उनको संकेत सरकार सञ्चालन गर्नेहरूले जनताको वास्तविक अवस्था, असन्तुष्टि र समस्यालाई पर्याप्त रूपमा नदेखेको भन्ने थियो। त्यसपछि सोही विषयलाई लिएर सामाजिक सञ्जालमा व्यङ्ग्य र राजनीतिक टिप्पणीको क्रम बढेको हो।

प्रधानमन्त्री शाहसहित भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, गृहमन्त्री सुधन गुरुङ र शिक्षामन्त्री सस्मित पोखरेललगायत केही मन्त्री संसद् र सार्वजनिक कार्यक्रममा कालो चश्मामा देखिने गरेका छन्। यही विषयलाई लिएर संसद्को मर्यादा र सांसदको पोसाकसम्बन्धी प्रश्नसमेत उठेको थियो।

संसद् बैठकमा कालो चश्माको प्रयोगलाई लिएर आलोचना बढेपछि सभामुख डिपी अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत दलका प्रमुख सचेतक र सचेतकहरूलाई सांसदहरूले संसद्को ड्रेसकोड पालना गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराएका थिए। संसद् बैठकमा मर्यादित र औपचारिक उपस्थितिलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

तर अहिले ‘कालो चश्मा’को विषय संसद्को ड्रेसकोडमा मात्र सीमित नरही रास्वपाभित्रको राजनीतिक असन्तुष्टिको प्रतीकजस्तो बन्न थालेको छ।

विशेषगरी रवि लामिछाने र प्रधानमन्त्री शाहबीचको सम्बन्ध तथा सरकार सञ्चालनमा पार्टीको भूमिका कस्तो रहने भन्ने प्रश्नसँग यसलाई जोडेर हेर्न थालिएको छ।

रास्वपाभित्र सरकार सञ्चालन र पार्टी संगठनबीचको समन्वयलाई लिएर यसअघि पनि असन्तुष्टि सार्वजनिक हुँदै आएको थियो। आफ्नै सांसदहरूले संसदमा सरकारका कामकारबाहीबारे प्रश्न उठाउनु र नेताहरूले सामाजिक सञ्जालमार्फत् सरकारको कार्यशैलीप्रति संकेतात्मक टिप्पणी गर्नुले पार्टीभित्रको असहमति अब लुकाएर राख्न कठिन हुँदै गएको देखिन्छ।

‘कालो चश्मा खोल्ने’ अभियान वास्तवमै कुनै संगठित राजनीतिक रणनीति हो वा तत्कालीन असन्तुष्टिको सामाजिक सञ्जाल अभिव्यक्ति मात्रै हो भन्ने स्पष्ट भइसकेको छैन। तर सत्ता सञ्चालनको नेतृत्व गरिरहेको प्रधानमन्त्रीकै दलका प्रभावशाली नेताहरूबाट लगातार यस्ता संकेत आउनुले रास्वपाभित्र राजनीतिक दूरी बढिरहेको अनुमानलाई भने बल पुगेको छ।

प्रधानमन्त्री शाहले पछिल्लो समय आफूलाई ‘एक्लै लड्नुपर्ने’ अवस्था आउन सक्ने आशयका अभिव्यक्ति सामाजिक सञ्जालमार्फत् दिइरहेका छन्।त्यसको केही समयमै पार्टीभित्रकै नेताहरूबाट ‘कालो चश्मा खोल्ने’ सन्देश आउनुले सरकार र पार्टी नेतृत्वबीचको सम्बन्धमाथि थप प्रश्न उठाएको छ।

काठमाडौंमा विश्व आदिवासी दिवसको रौनक [फोटो-फिचर]

काठमाडौं। ३२औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले काठमाडौंमा विविध कार्यक्रम आयोजना गरेको छ।

‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आइतबार विभिन्न कार्यक्रमसहित दिवस मनाइएको हो।

संयुक्त राष्ट्रसंघले सन् १९९४ देखि अगस्ट ९ लाई अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसका रूपमा मनाउँदै आएको छ। नेपालमा पनि हरेक वर्ष आदिवासी जनजाति समुदायले आफ्नो मौलिक पहिचान, भाषा, संस्कृति, परम्परा तथा अधिकारका सवाललाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन्।

यस वर्षको दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा आदिवासी जनजाति समुदायको सांस्कृतिक विविधता प्रदर्शनसँगै संविधानले सुनिश्चित गरेका अधिकारको कार्यान्वयन, समानुपातिक समावेशिता र पहिचानका विषयलाई प्राथमिकताका साथ उठाइएको छ।

दिवसको मुख्य कार्यक्रमअन्तर्गत काठमाडौंको भृकुटीमण्डपबाट सांस्कृतिक झाँकीसहितको र्‍याली निकालिएको थियो। विभिन्न आदिवासी जनजाति समुदायका सहभागी मौलिक भेषभूषामा सजिएर परम्परागत बाजागाजा, गीत तथा नृत्यसहित र्‍यालीमा सहभागी भएका थिए।

र्‍याली भृकुटीमण्डपबाट सुरु भई भद्रकाली, सहिदगेट, सुन्धारा, वीर अस्पताललगायत क्षेत्र हुँदै खुलामञ्च पुगेको थियो। र्‍यालीमा सहभागी विभिन्न समुदायले आफ्ना मौलिक संस्कृति, परम्परा र पहिचान झल्काउने प्रस्तुति दिएका थिए।

नेवार, मगर, तामाङ, शेर्पा, गुरुङ, थकाली, दुरा, माझी, याख्खा, राजवंशी, सुनुवार, ह्योल्मोलगायत विभिन्न समुदायको सहभागिताले र्‍यालीलाई बहुसांस्कृतिक स्वरूप दिएको थियो।

खुलामञ्चमा पुगेपछि र्‍याली मूल समारोहमा परिणत भएको थियो। मूल समारोहमा विभिन्न आदिवासी जनजाति समुदायको कला, संस्कृति, भाषा, परम्परा र जीवनशैली झल्काउने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका छन्।

परम्परागत गीत, नृत्य, बाजागाजा तथा मौलिक सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई उत्सवमय बनाएको थियो। विभिन्न समुदायले आफ्ना पुस्तौँदेखिका सांस्कृतिक अभ्यास र परम्परालाई सार्वजनिक रूपमा प्रस्तुत गर्दै संरक्षण र पुस्तान्तरणको सन्देशसमेत दिएका थिए।

महासंघका अनुसार काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा आदिवासी जनजाति समुदायका प्रतिनिधि, युवा, महिला, विद्यार्थी, कलाकार तथा सांस्कृतिक समूह कार्यक्रममा सहभागी भएका छन्।

कार्यक्रममा सरकारी अधिकारी, राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, मानवअधिकारकर्मी, शिक्षाविद्, कलाकार तथा सञ्चारकर्मीको समेत सहभागिता रहेको महासंघले जनाएको छ।

विश्व आदिवासी दिवसलाई केवल सांस्कृतिक उत्सवका रूपमा मात्र नभई आदिवासी जनजाति समुदायका अधिकार र सरोकारका विषय उठाउने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।

महासंघले संविधानमा सुनिश्चित गरिएका आदिवासी जनजातिका अधिकार व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ। समानुपातिक तथा समावेशी प्रतिनिधित्व, मातृभाषामा शिक्षा, भूमि तथा प्राकृतिक स्रोतमा अधिकार, सांस्कृतिक सम्पदाको संरक्षणलगायत विषयलाई महासंघले प्राथमिकतामा राखेको छ।

आदिवासी जनजाति समुदायको पहिचान भाषा, संस्कृति, परम्परा र भूमिसँग जोडिएको भन्दै यी पक्षको संरक्षण र अधिकारको सुनिश्चितता बिना समावेशी र न्यायपूर्ण समाज निर्माण सम्भव नहुने महासंघको धारणा छ।

नेपालका आदिवासी जनजाति समुदायले लामो समयदेखि राजनीतिक प्रतिनिधित्व, सामाजिक न्याय, आर्थिक अवसर तथा सांस्कृतिक अधिकारका विषय उठाउँदै आएका छन्। विश्व आदिवासी दिवसका अवसरमा यी विषयलाई पुनः राष्ट्रिय बहसमा ल्याउने प्रयास गरिएको छ।

महासंघले आदिवासी समुदायको परम्परागत ज्ञान, सीप र प्राकृतिक स्रोतसँगको सम्बन्धलाई संरक्षण गर्दै आधुनिक विकास प्रक्रियामा समेत उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने बताउँदै आएको छ।

विशेषगरी प्राकृतिक स्रोत तथा भूमि उपयोगका विषयमा स्थानीय र आदिवासी समुदायको अधिकार तथा सहभागितालाई सुनिश्चित गर्नुपर्ने माग पनि दिवसका अवसरमा उठाइएको छ।

दिवसको अवसरमा खुलामञ्चमा सांस्कृतिक कार्यक्रमसँगै विभिन्न आदिवासी जनजाति समुदायका रैथाने परिकार, हस्तकला तथा स्थानीय उत्पादनको प्रदर्शनीसमेत आयोजना गरिएको छ।

विभिन्न समुदायका मौलिक भेषभूषा, हस्तकलाका सामग्री, स्थानीय उत्पादन तथा सांस्कृतिक सामग्री प्रदर्शनमा राखिएका छन्। फुड फेस्टिबलमार्फत विभिन्न समुदायका परम्परागत तथा रैथाने परिकारसमेत सहभागीलाई परिचित गराइएको छ।

यस्ता गतिविधिले सांस्कृतिक पहिचानको संरक्षणसँगै स्थानीय उत्पादन, सीप र परम्परागत ज्ञानलाई प्रवर्द्धन गर्ने उद्देश्यसमेत बोकेको आयोजकको भनाइ छ।

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले यहाँका विभिन्न समुदायको मौलिक पहिचानको संरक्षणलाई राष्ट्रिय एकताको आधारका रूपमा लिनुपर्ने सन्देश दिवसका कार्यक्रममार्फत दिइएको छ।

विभिन्न समुदायका मानिस आफ्ना फरक–फरक पहिचान, भाषा, भेषभूषा र संस्कृतिसहित एउटै कार्यक्रममा सहभागी हुनु आफैंमा नेपालको सामाजिक तथा सांस्कृतिक विविधताको प्रतिनिधित्व भएको आयोजकको बुझाइ छ।

महासंघले प्राप्त अधिकारको संरक्षण गर्दै बाँकी अधिकारका लागि लोकतान्त्रिक र संवैधानिक माध्यमबाट आवाज उठाउने प्रतिबद्धता जनाएको छ। पहिचानसहितको समावेशी, समानतामूलक र न्यायपूर्ण समाज निर्माणका लागि राज्य र आदिवासी जनजाति समुदायबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेकोमा पनि जोड दिइएको छ।

यसरी काठमाडौंमा आयोजित ३२औँ विश्व आदिवासी दिवसले सांस्कृतिक उत्सवसँगै आदिवासी जनजाति समुदायका अधिकार, पहिचान र समावेशिताका सवाललाई पुनः सार्वजनिक बहसको केन्द्रमा ल्याएको छ।

तस्वीरहरू: 

 

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

एसियन गेम्समा नेपालको २१७ सदस्यीय टोली, २२ खेलमा १३६ खेलाडी

काठमाडौं । जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुने २०औँ एसियन गेम्समा नेपालले २२ खेलमा सहभागिता जनाउने भएको छ।

एसियाली खेलकुदको सबैभन्दा ठूलो मञ्चमध्ये एक मानिने प्रतियोगितामा नेपालबाट १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार नेपाली टोलीमा ८० पुरुष र ५६ महिला खेलाडी रहनेछन्। खेलाडीबाहेक प्रशिक्षक, व्यवस्थापक, मेडिकल टोली, नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि तथा अन्य आवश्यक पदाधिकारीसहित नेपाली टोलीको कुल संख्या २१७ पुग्नेछ।

नेपालले आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, क्रिकेट, साइकलिङ, गल्फ, कबड्डी, कराते, जुडो, स्क्वास, पौडी, टेबलटेनिस, टेनिस, सफ्ट टेनिस, कुस्ती, क्यानोइ स्लालोम, ब्रेकिङ एन्ड डान्स स्पोर्ट्स, स्केटबोर्ड, तेक्वान्दो, भलिबल र उसुमा प्रतिस्पर्धा गर्नेछ।

यसपटक नेपालले टिम इभेन्टमा महिला तथा पुरुष कबड्डी, पुरुष क्रिकेट र महिला भलिबलमा सहभागिता जनाउनेछ। अन्य खेल व्यक्तिगत विधामा केन्द्रित छन्।

एसियन गेम्सका लागि तयार गरिएको नेपाली प्रतिनिधिमण्डलमा १३६ खेलाडीका अतिरिक्त ३२ प्रशिक्षक र २० व्यवस्थापक रहनेछन्। टोलीको नेतृत्वका लागि राखेप सदस्य–सचिव रामचरित्र मेहतालाई सेफ दि मिसनको जिम्मेवारी दिइएको छ।

नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष तथा नेपाल गल्फ संघका अध्यक्ष टासी घले डेपुटी सेफ दि मिसनका रूपमा रहनेछन्।

टोलीमा मेडिकल टिम, नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, सञ्चार टोलीलगायत अन्य सदस्यसमेत रहनेछन्। यसमध्ये १८८ जनाको नाम सार्वजनिक भइसकेको छ भने बाँकी २७ जनाको नाम सार्वजनिक हुन बाँकी रहेको राखेप स्रोतले जनाएको छ।

एसियन गेम्समा नेपालका खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अनुभव दिलाउनेसँगै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर पनि हुनेछ। विभिन्न खेलका खेलाडीले आफ्नो तयारीअनुसार प्रदर्शन सुधार गर्ने लक्ष्य राखेका छन्।

खेलअनुसार सबैभन्दा ठूलो नेपाली टोली कबड्डीमा हुनेछ। पुरुष र महिला दुवै टोलीमा १२–१२ खेलाडी गरी कबड्डीमा कुल २४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

महिला कबड्डी टोलीमा रविना चौधरी, गंगा घिमिरे, नानु माया पराजुली, विनिता पन्डित क्षेत्री, जयन्ती बडु, अस्मा यादव, खिम माया खत्री, मेनुका कुमारी राजवंशी, मिना नेपाली, सृजना कुमारी थारु, मनमती विष्ट र मनिषा जोशी रहेका छन्।

पुरुष कबड्डी टोलीमा घनश्याम रोका मगर, अन्कु पुन, आदित चौधरी, प्रकाश गिरी, सुरज बोहरा, संस्कार कुमार, रवि थारु, अशोक जोशी, सागर थादव, कुमार लामा, गणेश पार्की र करुण रसाइली छन्।

कबड्डीपछि पुरुष क्रिकेटमा १५ र महिला भलिबलमा १२ खेलाडी सहभागी हुनेछन्।

पुरुष क्रिकेटमा नेपालले आफ्नो नियमित अन्तर्राष्ट्रिय टोलीका अधिकांश अनुभवी खेलाडीलाई समेटेको छ। टोलीमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सनकुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्।

नेपालका लागि क्रिकेट पछिल्लो समय अन्तर्राष्ट्रिय मञ्चमा तुलनात्मक रूपमा बलियो प्रदर्शन गर्ने खेल बनेकाले एसियन गेम्समा पनि टोलीबाट राम्रो नतिजाको अपेक्षा गरिएको छ।

भलिबलमा नेपालले महिला टोलीलाई मात्र सहभागी गराउने भएको छ। टोलीमा निरुता ठगुन्ना, उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, आरती सुवेदी, लक्ष्मी चन्द, बसन्ती कुमारी साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, रिमा कुँवर, प्रगती नाथ र सलिना श्रेष्ठ रहेका छन्।

महिला भलिबलले पनि एसियाली स्तरमा आफ्नो क्षमता परीक्षण गर्नेछ। टिम गेममा प्रतिस्पर्धा गर्दा खेलाडीबीचको समन्वय, अनुभव र मानसिक तयारी महत्वपूर्ण हुने भएकाले प्रतियोगिताअघि प्रशिक्षणलाई विशेष प्राथमिकता दिइनेछ।

व्यक्तिगत विधातर्फ सबैभन्दा धेरै खेलाडी उसुमा छन्। उसुमा ११ खेलाडीले नेपालका लागि प्रतिस्पर्धा गर्नेछन्।

विजय सिन्जाली, हरिप्रसाद गोले, राजीव तामाङ, दीपक हमाल, सुस्मिता तामाङ, सविता राई, रोहित चुनारो, मुकेश पन्डित, अमर सुनार, सञ्जीव महर्जन र रिता ठकुल्ला टोलीमा छन्।

उसुमा विभिन्न विधा र तौल समूहमा नेपाली खेलाडीले चुनौती प्रस्तुत गर्नेछन्। यस खेलबाट पनि नेपालले राम्रो प्रदर्शनको अपेक्षा गरेको छ।

एथलेटिक्सतर्फ नेपालले मध्यम तथा लामो दूरीका दौडमा खेलाडी उतार्नेछ। सोमबहादुर कुमालले ८०० मिटरमा प्रतिस्पर्धा गर्नेछन्। मुकेशबहादुर पालले १५०० र ५००० मिटरमा सहभागिता जनाउनेछन्।

राजन रोकायले १० हजार मिटर तथा म्याराथनमा प्रतिस्पर्धा गर्नेछन् भने खड्कबहादुर खड्का म्याराथनमा सहभागी हुनेछन्।

महिलातर्फ सन्तोषी श्रेष्ठले ५००० र १० हजार मिटरमा प्रतिस्पर्धा गर्नेछिन्। पूर्णलक्ष्मी न्यौपानेले १५०० र ५००० मिटरमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

पौडीमा नेपालबाट पाँच खेलाडी सहभागी हुनेछन्। डुआना लामाले १०० मिटर फ्रिस्टाइल, २०० मिटर फ्रिस्टाइल र १०० मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन्।

आर्या महर्जनले १०० मिटर फ्रिस्टाइल र ५० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन्। पुरुषतर्फ अभिव प्रधानले १०० मिटर फ्रिस्टाइल र ५० मिटर बटरफ्लाई, जादेन श्रेष्ठले १०० र ५० मिटर ब्रेस्टस्ट्रोक तथा एर्भिन श्रेष्ठले ५० र १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्।

बक्सिङमा नेपालले सात खेलाडी सहभागी गराउनेछ। महिलातर्फ रमिशा श्रेष्ठले ५१ केजी, अस्मिता दुलालले ५४ केजी र कुसुम तामाङले ६५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्।

पुरुषतर्फ चन्द्रबहादुर थापा ५५ केजी, खगेन्द्र रोका मगर ६० केजी, धनबहादुर दर्लामी ७० केजी र रबिन नेपाल ९० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्।

जुडोमा पुरुषतर्फ विकास विक, विशेष विक र सुजन गुरुङ तथा महिलातर्फ निशा श्रेष्ठ, देवकी माया श्रेष्ठ र पुनम श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्।

करातेमा राकेश मानन्धर, मिनबहादुर तामाङ र तेन्जिङ शेर्पाले पुरुषतर्फ तथा निरुपा दोङ तामाङ, एरिका गुरुङ, सानु माया थिङ, एलिसा रास्कोटी मगर र मेघा लिम्बुले महिलातर्फ नेपालको प्रतिनिधित्व गर्नेछन्।

कुस्तीमा सुरेश चुनारा, निखिल राज पटेल, राज यादव र रामकिशोर यादव पुरुषतर्फ तथा सुशिला चन्द र सिवाङ्गी दुबे महिलातर्फ सहभागी हुनेछन्।

आर्चरीमा तिलक पुन मगर र ज्ञानु अवालेले नेपालको प्रतिनिधित्व गर्नेछन्। साइकलिङमा नवराज न्यौपाने र उषा खनाल सहभागी हुनेछन्।

गल्फमा सुवास तामाङ, सद्भाव आचार्य, राहुल विक र तारा कार्कीले प्रतिस्पर्धा गर्नेछन्। नेपालले गल्फमा पनि अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीलाई उतार्ने तयारी गरेको छ।

क्यानोइ स्लालोममा विजय माझी र आशिष रानामगर सहभागी हुनेछन्। दुवैले क्यानोइ तथा कायाक स्लालोमका विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन्।

टेबलटेनिसमा संयोग कपाली, रुबिन महर्जन, गनन्जय दाहाल, नविता श्रेष्ठ, एभाना थापा र योङ्गी पौडेल सहभागी हुनेछन्।

टेनिसतर्फ प्रदीप खड्का, निसान श्रेष्ठ, अभिषेक बास्तोला र शिवाली गुरुङले नेपालको प्रतिनिधित्व गर्नेछन्।

सफ्ट टेनिसमा जर्जिया चौधरी, कमलबहादुर भण्डारी, प्रदीप खत्री र ब्रिजेश पाण्डे सहभागी हुनेछन्।

स्क्वासतर्फ अरहान्त केश सिम्ह र विपना ब्लोनले नेपालको प्रतिनिधित्व गर्नेछन्। दुवैले सिंगल्ससँगै मिक्स डबल्समा पनि प्रतिस्पर्धा गर्नेछन्।

तेक्वान्दोमा अभिषेक बरालले ८० केजीमुनिको विधामा प्रतिस्पर्धा गर्नेछन्। युवराज राना र स्वस्तिका तामाङले पुम्से विधामा नेपालको प्रतिनिधित्व गर्नेछन्।

स्केटबोर्डमा गजेन्द्र बर्देवा र शरदकुमार राई सहभागी हुनेछन्। ब्रेकिङ एन्ड डान्स स्पोर्ट्समा सुनिल बम्जनले नेपालको प्रतिनिधित्व गर्नेछन्।

एसियन गेम्समा विश्वका बलिया खेलाडी तथा टोलीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले नेपाली खेलाडीका लागि प्रतियोगिता सहज हुने छैन। यद्यपि पछिल्लो समय विभिन्न खेलमा नेपाली खेलाडीको अन्तर्राष्ट्रिय उपस्थिति बढ्दै गएको छ।

नेपालका लागि टिम गेममा राम्रो प्रदर्शन गर्नुका साथै व्यक्तिगत खेलमा आफ्नो व्यक्तिगत र राष्ट्रिय प्रदर्शन सुधार गर्नु पनि महत्वपूर्ण लक्ष्य हुनेछ। पदक जित्ने लक्ष्यसँगै एसियाली स्तरमा प्रतिस्पर्धात्मक अनुभव हासिल गर्नु नेपाली टोलीका लागि अर्को महत्वपूर्ण उपलब्धि हुनसक्नेछ।

प्रतियोगितामा सहभागी हुने खेलाडीको तयारी, प्रशिक्षण, व्यवस्थापन र आवश्यक पूर्वाधारलाई प्रभावकारी बनाउने चुनौती सम्बन्धित निकायसामु छ। ठूलो संख्यामा खेलाडी सहभागी गराउनु मात्र पर्याप्त नहुने भएकाले प्रतियोगिताअघि उनीहरूको तयारीको स्तर, खेल सामग्री, अन्तर्राष्ट्रिय अनुभव र मानसिक तयारीलाई समेत प्राथमिकता दिनुपर्ने देखिन्छ।

२०औँ एसियन गेम्समा नेपालको सहभागिता खेलाडीको संख्या र खेलको विविधताका हिसाबले महत्वपूर्ण रहनेछ। अब नेपाली खेलाडीले जापानको प्रतिस्पर्धात्मक मैदानमा आफ्नो तयारीलाई प्रदर्शनमा बदल्दै देशका लागि सम्झनलायक नतिजा निकाल्नुपर्ने चुनौती सामना गर्नेछन्।

सरकारले उठाउँदैछ ४ खर्ब १० अर्ब आन्तरिक ऋण

काठमाडौं। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको ऋण उठाउने तालिकाअनुसार सरकारले आर्थिक वर्षको पहिलो तीन महिनामै अर्थात् साउन, भदौ र असोजमा एक खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको हो।

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त रहेको र बजारमा आन्तरिक ऋणको ब्याजदर तुलनात्मक रूपमा न्यून रहेको अवस्थामा सरकारले वर्षको सुरुदेखि नै ठूलो परिमाणमा ऋण उठाउने रणनीति लिएको हो। अहिले बैंकिङ प्रणालीमा १५ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम रहेको बताइएको छ।

बजारमा पैसा पर्याप्त रहेकाले सरकारी ऋणपत्रमा लगानीका लागि बैंक तथा वित्तीय संस्थाबीच प्रतिस्पर्धा हुने र त्यसबाट सरकारले विगतको तुलनामा कम लागतमा ऋण उठाउन सक्ने अपेक्षा गरिएको छ। हाल आन्तरिक ऋणको औसत ब्याजदर करिब साढे ६ प्रतिशत आसपास रहेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तालिकाअनुसार पहिलो त्रैमासमा उठाइने एक खर्ब रुपैयाँमध्ये १० अर्ब रुपैयाँ ट्रेजरी बिल र ९० अर्ब रुपैयाँ विकास ऋणपत्रबाट जुटाइनेछ।

ट्रेजरी बिल एक वर्षभन्दा कम अवधिको सरकारी ऋणपत्र हो। सरकारले ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिका ट्रेजरी बिल जारी गर्दैछ। छोटो अवधिको वित्तीय आवश्यकता व्यवस्थापन गर्न सरकारले यस्ता ऋणपत्र प्रयोग गर्दै आएको छ।

त्यस्तै, ९० अर्ब रुपैयाँ विकास ऋणपत्रमार्फत उठाइनेछ। विकास ऋणपत्रको ब्याजदर भने पूर्वनिर्धारित नभई बोलकबोल प्रक्रियाबाट तय हुनेछ। लगानीकर्ताले प्रस्ताव गरेको ब्याजदरका आधारमा ऋणको लागत निर्धारण हुन्छ।

बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको अवस्थामा विकास ऋणपत्रमा लगानीका लागि प्रतिस्पर्धा बढेमा सरकारले अपेक्षाकृत कम ब्याजदरमा रकम उठाउन सक्ने सम्भावना रहन्छ।

सरकारले दोस्रो त्रैमासमा ९३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ।

यस अवधिमा १० अर्ब रुपैयाँ ट्रेजरी बिल र ८० अर्ब रुपैयाँ विकास ऋणपत्रबाट उठाउने तालिका छ। बाँकी रकममध्ये २ अर्ब ५० करोड रुपैयाँ नागरिक बचतपत्र र ५० करोड रुपैयाँ वैदेशिक रोजगार बचतपत्रमार्फत उठाउने योजना छ।

नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र पाँच वर्ष अवधिका लागि जारी हुने सरकारी ऋणपत्र हुन्। यी उपकरणमार्फत सरकारले संस्थागत लगानीकर्तासँगै निश्चित वर्गका व्यक्तिगत लगानीकर्ताबाट समेत आन्तरिक स्रोत परिचालन गर्ने गर्छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सरकारले सबैभन्दा ठूलो परिमाणमा आन्तरिक ऋण उठाउने भएको छ।

माघ, फागुन र चैतमा गरी एक खर्ब २० अर्ब रुपैयाँ उठाउने तालिका छ। यसमध्ये ३० अर्ब रुपैयाँ ट्रेजरी बिल र ९० अर्ब रुपैयाँ विकास ऋणपत्रमार्फत जुटाइनेछ।

आर्थिक वर्षको बीचतिर सरकारी खर्च बढ्ने भएकाले पनि यस अवधिमा ठूलो परिमाणमा आन्तरिक स्रोत परिचालन गर्ने योजना बनाइएको हुन सक्छ। विकास निर्माण, सार्वजनिक सेवा तथा अन्य सरकारी दायित्व पूरा गर्न आवश्यक स्रोत व्यवस्थापनमा आन्तरिक ऋण प्रयोग हुँदै आएको छ।

सरकारले आर्थिक वर्षको अन्तिम तीन महिनामा पनि ९७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनेछ।

यसमा ५४ अर्ब रुपैयाँ ट्रेजरी बिल र ४० अर्ब रुपैयाँ विकास ऋणपत्रमार्फत उठाउने तालिका छ। त्यस्तै नागरिक बचतपत्रबाट २ अर्ब ५० करोड तथा वैदेशिक रोजगार बचतपत्रबाट ५० करोड रुपैयाँ उठाउने योजना छ।

यसरी चारवटै त्रैमासको ऋण उठाउने रकम जोड्दा चालु आर्थिक वर्षमा सरकारले कुल ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनेछ।

सरकारले ठूलो परिमाणमा आन्तरिक ऋण उठाउन थालेको समयमा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम उच्च हुनु महत्वपूर्ण कारण हो।

बैंक तथा वित्तीय संस्थासँग लगानी गर्न मिल्ने रकम धेरै हुँदा सरकारी ऋणपत्रमा पनि लगानीको प्रतिस्पर्धा बढ्न सक्छ। सरकारले जारी गर्ने ऋणपत्र तुलनात्मक रूपमा सुरक्षित लगानी उपकरण मानिने भएकाले बैंक तथा वित्तीय संस्थाले आफ्नो अतिरिक्त रकम सरकारी ऋणपत्रमा लगानी गर्न सक्छन्।

त्यसैले बजारमा पर्याप्त तरलता भएको समयमा सरकारले ऋण उठाउँदा ब्याजदर कम हुने सम्भावना रहन्छ। कम ब्याजदरमा ऋण प्राप्त हुँदा सरकारको आगामी वर्षहरूमा तिर्नुपर्ने ब्याज खर्च पनि घट्छ।

सरकारले ऋणको साँवा र ब्याज तिर्न गर्ने खर्चलाई ऋण सेवा खर्च भनिन्छ। आन्तरिक ऋणको लागत कम राख्न सक्दा यही ऋण सेवा खर्च नियन्त्रण गर्न सहयोग पुग्छ।

कम ब्याजदरमा ऋण उठाउन पाउनु तत्कालका लागि सरकारका लागि सकारात्मक भए पनि ठूलो परिमाणमा आन्तरिक ऋण थपिँदै जानुलाई दीर्घकालीन वित्तीय दृष्टिले पनि हेर्नुपर्ने हुन्छ।

सरकारले उठाएको ऋण उत्पादनशील क्षेत्रमा परिचालन गर्न सके त्यसबाट आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना र भविष्यमा राजस्व वृद्धि गर्न सहयोग पुग्न सक्छ। तर ऋणको ठूलो हिस्सा नियमित प्रशासनिक तथा उपभोगमुखी खर्चमा प्रयोग भयो भने त्यसले भविष्यमा सरकारमाथि थप वित्तीय दायित्व सिर्जना गर्न सक्छ।

सरकारले एकातिर विकास तथा सार्वजनिक खर्चका लागि स्रोत जुटाउन आन्तरिक ऋण प्रयोग गरिरहेको छ भने अर्कोतिर पुराना ऋणको साँवा तथा ब्याज भुक्तानीको दायित्व पनि बढ्दै गएको छ। त्यसैले नयाँ ऋणको उपयोग र त्यसबाट प्राप्त हुने आर्थिक प्रतिफल महत्वपूर्ण हुन्छ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम धेरै रहेको अवस्थामा सरकारले आन्तरिक ऋण उठाउँदा त्यसको अर्को प्रभाव निजी क्षेत्रमा पर्न सक्ने विषय पनि महत्वपूर्ण हुन्छ।

बैंक तथा वित्तीय संस्थाले आफ्नो अतिरिक्त रकम सरकारी ऋणपत्रमा लगानी गरेमा सरकारले तत्काल स्रोत पाउँछ। तर निजी क्षेत्रले त्यही रकम ऋणका रूपमा परिचालन गर्न नसकेमा निजी लगानी विस्तारमा केही असर पर्न सक्छ।

यद्यपि अहिले बैंकमा लगानीयोग्य रकम उल्लेख्य मात्रामा थुप्रिएको अवस्थामा सरकारले ऋण उठाउँदैमा निजी क्षेत्रमा जाने कर्जा तत्कालै ठूलो मात्रामा विस्थापित हुन्छ भन्ने निष्कर्ष निकाल्न सकिँदैन। वास्तविक प्रभाव भने ऋण उठाउने परिमाण, बैंकको कर्जा माग र समग्र आर्थिक गतिविधिको अवस्थाले निर्धारण गर्नेछ।

सरकारले वर्षको सुरुदेखि नै ऋण उठाउने तालिका सार्वजनिक गर्नुको उद्देश्य ऋण व्यवस्थापनलाई व्यवस्थित बनाउनु पनि हो। कुन अवधिमा कति रकम उठाउने भन्ने जानकारी पहिले नै दिँदा लगानीकर्ताले आफ्नो लगानी योजना बनाउन सक्छन्।

ऋण उठाउने समयलाई व्यवस्थित गर्न सके सरकारले बजारमा अचानक ठूलो रकम माग गर्ने अवस्था घटाउन सक्छ। यसले ब्याजदर व्यवस्थापनमा समेत सहयोग पुर्‍याउन सक्छ।

सरकारी ऋणपत्रमा लगानी गर्ने बैंक तथा वित्तीय संस्था र अन्य सम्भावित लगानीकर्ताले पनि सरकारले कुन समयमा कति ऋणपत्र निष्कासन गर्न लागेको छ भन्ने आधारमा आफ्नो तरलता व्यवस्थापन गर्न सक्छन्।

चालु आर्थिक वर्षमा उठाइने ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण सरकारी वित्तीय व्यवस्थापनको महत्वपूर्ण स्रोत हुनेछ। सरकारले बजेटमा अनुमान गरेको खर्च र उपलब्ध राजस्वबीचको अन्तर व्यवस्थापन गर्न आन्तरिक ऋण प्रयोग गर्ने गर्छ।

तर ऋण उठाउने मात्रभन्दा पनि त्यसको उपयोग कसरी हुन्छ भन्ने विषय बढी महत्वपूर्ण हुन्छ। पूर्वाधार निर्माण, उत्पादन, रोजगारी र अर्थतन्त्रको क्षमता बढाउने क्षेत्रमा ऋण परिचालन गर्न सके त्यसबाट भविष्यमा प्रतिफल प्राप्त गर्न सकिन्छ।

यसको विपरीत उत्पादन नबढाउने क्षेत्रमा ऋणको प्रयोग बढ्दै गएमा साँवा र ब्याज भुक्तानीको दायित्व भने निरन्तर बढिरहन्छ। त्यसैले सस्तो ब्याजदरमा ऋण उपलब्ध भएको अवसरलाई सरकारले वित्तीय अनुशासन र उत्पादनमुखी खर्चसँग जोड्नुपर्ने देखिन्छ।

अहिले बैंक तथा वित्तीय संस्थामा ठूलो मात्रामा लगानीयोग्य रकम थुप्रिनु र आन्तरिक ऋणको औसत ब्याजदर कम हुनु सरकारका लागि अनुकूल अवस्था हो। यही कारण सरकारले आर्थिक वर्षको सुरुदेखि नै ठूलो रकम आन्तरिक बजारबाट उठाउने योजना अघि सारेको छ।

तर ४ खर्ब १० अर्ब रुपैयाँको नयाँ आन्तरिक ऋणले आगामी वर्षहरूमा सरकारको ऋण सेवा दायित्व पनि बढाउनेछ। त्यसैले अहिलेको सस्तो ब्याजदरको लाभ लिँदै गर्दा ऋणको उपयोगबाट पर्याप्त आर्थिक प्रतिफल सिर्जना गर्ने चुनौती सरकारसामु रहनेछ।