`

सरकारको नेतृत्वकर्ताले गोली चलाउने आदेशबारे थाहा छैन भन्नु लाजमर्दाे: रिमा विश्वकर्मा

काठमाडौं । ऊर्जामन्त्री मन्त्री कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’ की केन्द्रिय सदस्य रिमा विश्वकर्माले देशले आज जवाफदेही मान्छे खोजिरहेको बताएकी छिन् । आज (बुधबार) पार्टीको औपचारिक घोषणा कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै केन्द्रिय सदस्य विश्वकर्माले यस्तो बताएकी हुन् । उनले यहाँ कोही कसैको भर परेर देश नबन्ने भन्दै आफू स्वयम् देशका लागि अगाडि बढ्ने प्रण लिएको बताइन् ।

उनले एमाले अध्यक्ष समेत रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै भदौ २३ गते भएको जनेजी आन्दोलनमा गोली कसले चलाउने आदेश दियो भन्ने विषयमा आफूलाई थाहा छैन भन्नुु लाजमर्दाे कुरा भएको बताइन् । उनले भनिन्, ‘भदौ २३ गते भएको आन्दोलनमा गोली चलाउने आदेश कसले दियो भनेर देशको नेतृत्व गर्ने पदमा बसेकाले थाहा छैन भन्नु लाजमर्दाे कुरा हो ।’

उनले आफ्नो जीवनमा राजनीति चेत आएसँगै सबैभन्दा बढी प्रभाव पार्ने निर्णय नै लोडसेडिङ अन्त्यको निर्णय भएको बताएकी छन् । ‘देशले परिणाममुखी नेतृत्व खोजिरहेको छ । म जन्मिएदेखि जब राजनीतिक चेत ममा आयो । यो देशमा सरकारमा बसेर कसैको नेतृत्वले मेरो जीवन र दैनिकीमा प्रत्यक्ष प्रभाव पारेको थियो र असर गरेको थियो भने त्यो लोडसेडिङको निर्णय थियो,’ उनले भनिन् । उनले सोही दिनदेखि कुलमान घिसिङलाई अगुवा मानेको पनि सम्बोधनको क्रममा बताइन् ।

‘मैले त्यही दिन कुलमान घिसिङलाई आफ्नो अगुवा मानेको थिएँ । १८ घण्टे लोडसेडिङ हटाएर कुलमान जोजोले तपाईं हाम्रो घरमा उज्यालो त ल्याइसक्नु भयो,’ उनले भनिन्, ‘अब उहाँकै नेतृत्वमा हामी देशको भविष्य उज्यालो बनाउने अभियानमा लागेका छौं । यो अभियान देशलाई माया गर्ने हरेक नेतृत्वको हो ।’ उनले सक्रिय राजनीतिमा सहभागी हुने यो नै उपयुक्त समय रहेको बताइन् । ‘अब सक्रिय राजनीतिमा आउन ढिला भइसक्यो । सक्रिय राजनीतिमा आउने उपयुक्त समय आज र अहिले नै हो,’ विश्वकर्माले भनिन् ।

 

 

कञ्चनपुरको गौरीघाटमा अवैधरुपमा १३९ काँचा रुख काटिए

कञ्चनपुर ।  कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक वनमा ठूलो सङ्ख्यामा काँचा रुख कटान भएको पाइएपछि डिभिजन वन कार्यालयले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख सुरेशचन्द्र डिसीका अनुसार सामुदायिक वनमा ११६ खयर, २२ सिसौ र एक कन्जु गरी १३९ रुख काटेको पाइएको छ । ठूलो सङ्ख्यामा काँचा रुख काटेको पाइएपछि सवडिभिजन वन कार्यालय बाणीका प्रमुख भरत शाहलाई अनुसन्धान अधिकृत तोकेर छानबिन (अनुसन्धान) प्रक्रिया अगाडि बढाइको छ ।

अनुसन्धान प्रक्रियापश्चात् पेस गरिने प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुने कार्यालय प्रमुख डिसीले बताएका छन् । “सामुदायिक वनका अध्यक्ष र वडाध्यक्ष बाहिर रहेका बेला फिल्मी शैलीमा रुख अवैध रुपमा कटानी भएको पाइएको छ”, डिसिले भनेका छन्, “अनुगमन गर्दा ठूलो सङ्ख्यामा रुख कटानी भएको पाएका छौँ ।”

रुख कटानी गरी गायब पारे पनि रुखका ठुटाबाटै बिगो कायम गर्न सकिने उनले उल्लेख गरेका छन् । “अनुसन्धानपश्चात् जोसुकै, जुनसुकै ओहदाको व्यक्ति भए पनि दोषी ठहरिए वन ऐनअनुसार हदैसम्मको कारबाही हुन्छ”, उनले भने, “वन फडानी प्रकरणबारे परामर्श गर्नका लागि प्रदेशस्थित मन्त्रालयका सचिवसँग परामर्श गर्नका लागि आज जान लागेको छु, सचिवको निर्देशनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछौँ ।”

दोषीलाई नियन्त्रणमा लिएर छिट्टै कारबाही प्रक्रिया अगाडि बढने उनको भनाइ छ । उनका अनुसार सामुदायिक वनमा यही मङ्सिर ११ गते दिउँसो १ बजेको समयमा योजनाबद्ध रुपमा रुख कटानी गरिएका थिए । रुख कटानी गरिरहेको भिडियो र तस्बिर वन कार्यालयमा प्राप्त भएको उनको भनाइ छ ।

एमाले जेनजी पुस्ताको रियल लिडर हो : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जेनजी पुस्ताको रियल लिडर आफ्नो पार्टी भएको दाबी गरेका छन् । प्रेस चौतारी नेपालले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमाले जेनजीको जायज आकांक्षा र अपेक्षाकाविरुद्ध कहिल्यै नरहेको र नरहने समेत स्पष्ट पारे । एमाले कहिल्यै जेनजीविरुद्ध नरहेको उनको भनाई थियो । उपाध्यक्ष पौडेलले एमालेले सबै उमेर समूहका नागरिकहरुको प्रतिनिधित्व गरिरहेको जिकिर समेत गरे ।

उनले भने, ‘जेनजी उमेर समूहको रियल लिडर पनि एमाले हो भन्ने म दाबी गर्न चाहन्छु । एमालेले कहिल्यै पनि जेनजीका विरुद्धमा जेनजीका मागका विरुद्धमा, उनीहरुका न्यायिक र जायज आकांक्षा र अपेक्षाका विरुद्धमा एमाले थिएन र रहँदैन भन्नेकुरा स्पष्ट पार्न चाहन्छु ।’ उनले भने, ‘जहाँसम्म भदौ २३, २४ को सन्दर्भ छ । २३ गते जेनजीहरु जुन माग र मुद्दामा आएका थिए । उनीहरुले अघि सारेका माग चाहे सोसल मिडियाका कुरा गरौैं । सोसल मिडिया निर्वाध उपयोग गर्ने उनीहरुको माग हो । सोसल मिडिया कसरी रेगलेट गर्ने भन्ने विषयमा जेनजीहरुले माग राखेका होइनन् । उनीहरुको एउटै माग हामीले त्यसलाई निर्वाध उपयोग गर्न पाउनु पर्छ भन्ने थियो । यो नितान्त जायज माग थियो उनीहरुको ।’ उपाध्यक्ष पौडेलले सरकारले निर्वाचनको लागि आवश्यक वातावरण बनाउन नसकेको बताए ।

उपाध्यक्ष पौडेलले आफ्नो पार्टी अन्तरपार्टी लोकतन्त्रको च्याम्पियन भएको दाबी गरेका छन् । उनले एमालेलाई अधिनायकवादी र निरंकुश छ भन्ने गलत प्रचार भइरहेको बताए । उनले भने, ‘पार्टीभित्रको लोकतन्त्रको बारेमा अरूले एमालेमाथि प्रश्न उठाउनु उचित लाग्दैन । हामी लोकतन्त्रको अभ्यास गर्दै आइरहेको छौं । अहिले हामी नेतृत्व निर्माण गर्ने महाधिवेशनमा छौं । नीतिको महाधिवेशन गरिसक्यौं ।’ उनले विकसित राजनीतिक घटनाक्रमबारे पनि पर्याप्त छलफल गरिसकेको भन्दै अध्यक्षले प्रस्तुत गर्ने बताए । उनले थपे, ‘अध्यक्षले बोल्न दिन्न भन्नु भयो, म मात्रै बोल्छु भन्नु भयो भन्ने खालको कुराको सान्दर्भिकता छैन ।’

उनले आगामी महाधिवेशनमा आफू कुन पदमा रहन्छु भन्ने कुरालाई महत्वहिन ठानेको बताए । आफ्नो जस्तो क्षमता भएको पार्टीमा हजारौँ नेताहरू रहेको भन्दै आफू जुनसुकै ठाउँमा रहेर पनि काम गर्न तयार रहेको बताए । उनले भने, ‘मैले कुनै जिम्मेवारीका लागि कुनै इच्छा व्यक्त गरेको छैन । मेरो ट्रयाक रेकर्ड हेर्दा हुन्छ । मलाई यो चिज चाहियो भनेको छैन । त्यसैले भन्छु, म पार्टी र आन्दोलनको चिन्ता गर्छु आफ्नो बारेमा गर्दिनँ । मलाई किङमेकर भनेर तपाईहरूले बोक्न नसक्ने तक्मा दिनुभयो । मलाई किङमेकरको रूपमा पनि नबुझ्दिनुस् ।’ उनले पार्टीभित्र समस्या भए त्यसको समाधान गर्नको लागि काम गर्ने आफ्नो स्वभाव रहेको बताए । अहिले एमालेभित्र कुनै संकट नरहेको बताए । पार्टीभित्र अहिले दुई ध्रुव रहेको भन्दै चर्चा भइरहे पनि २९ गतेसम्म नरहने दाबी गरे । ११ औँ महाधिवेशन सर्वसम्मत रूपमा टुङ्गिने उनको भनाइ छ ।

 

 

पोर्चुगलको मदेइरामा घुम्ती शिविर सञ्चालन हुने

लिस्बन (पोर्चुगल) ।  पोर्चुगलको मदेइरा आइल्याण्डमा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी दुई दिने घुम्ती शिविर सञ्चालन हुने भएको छ ।

लिस्बनस्थित रहेको नेपाली दूतावासको टोलीले यही डिसेम्बर ६ र ७ तारिख(शनिबार र आइतबार) मदेइरा आइल्याण्डको फुन्चालमा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण (कन्सुलर सेवा) सम्बन्धी दुई दिने घुम्ती शिविर सञ्चालन गर्ने भएको हो ।

दूतावासका अनुसार शिविरमा राहदानी नवीकरण, प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट), पारिवारिक कागजातलगायत अन्य कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा प्रमाणीकरण लगायतका सेवा प्रदान गर्नेछ ।

टोलीले राहदानीको म्याद सकिएका, हराएका, क्षति भएका तथा राहदानीको म्याद छ महिनाभन्दा कम रहेकाहरुको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गर्ने दूतावासले जनाएको छ ।

राहदानी नवीकरण तथा प्रहरी चारित्रिक प्रमाणपत्र ९प्रहरी रिपोर्ट०लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई सहज सेवा उपलब्ध गराउने योजनाअनुरुप मदेइरामा घुम्ती शिविर सञ्चालन गर्न लागिएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले बताएका छन् ।

“मदेइरा आइल्याण्डबाट दूतावास धाउन टाढा भएकै कारण सो क्षेत्रमा बसोबास गर्ने नेपालीलाई राहदानी नवीकरणलगायतका कागजात प्रमाणीकरणमा समस्या नहोस् भन्ने उद्देश्यले टोली खटाएरै सेवा दिन लागेका हौँ”, राजदूत पौडेलले रासससँग भनेका छन्, “हामीले सो क्षेत्रका नेपालीको सहजताका लागि दूतावासको बिदाको दिनलाई सदुपयोग गरेर शिविर सञ्चालन गर्न लागेका हौँ ।”

शिविरबाट त्यहाँ रहेका धेरै नेपाली लाभान्वित हुने अपेक्षा गरिएको उनले बताएका छन् । घुम्ती शिविर सञ्चालन हुने भएपछि राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका सो क्षेत्रका नेपालीलाई राहत मिल्ने भएको छ । यसअघि गत महिना पनि दूतावासले पोर्चुगलको फारो सहरमा घुम्ती शिविर सञ्चालन गरेको थियोे ।

कांग्रेस सभापतिमा उठ्ने गगन थापाको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति पदमा प्रतिष्पर्धा गर्ने घोषणा गरेका छन् । पुस २६ देखि २८ गतेसम्म कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंमा आयोजना हुँदैछ । मंसिर १५ गते केन्द्रीय समितिले महाधिवेशन कार्यतालिका ल्याएको थियो । महामन्त्री थापाले केन्द्रीय समितिबाट १५ औं महाधिवेशन कार्यतालिका आइसकेको उल्लेख गर्दै आफू सभापति पदमा उठ्ने घोषणा गरेका हुन् ।

‘म १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो,’ हिमालय टिभीको यक्ष प्रश्नका लागि अन्तर्वार्ताका क्रममा पत्रकार निमेष बञ्जाडेसँग थापाले घोषणा गरे, ‘मलाई के विश्वास छ भने, नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले १५ औं महाधिवेशनबाट मलाई यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ, विश्वास गर्नुहुन्छ भन्ने मलाई छ ।’ कांग्रेस महाधिवेशन आगामी पुस २६–२८ गते हुँदैछ ।

‘सरकारको बजेट बचाएर अर्थमन्त्री–सचिवले आफ्नो कम्पनीमा लगानी गरे भन्नु गलत’

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले वर्तमान व्यवस्थामा कुनै पनि मन्त्री, कर्मचारीले सरकारको बजेट बचाएर आफ्नो प्राइभेट कम्पनीमा जम्मा गर्नै नसक्ने बताएका छन् । बुधवार आज राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सरकारी बजेट बचाएर अर्थमन्त्री, सचिवहरुले आफ्नो निजी कम्पनीमा लगानी गरेको भन्ने आरोपको खण्डन गरेका हुन् । उनले एउटा जिम्मेवार निकायमा बसेको करदाताको जिम्मा लिएको व्यक्तिले त्यस्तो हिम्मत नगर्ने समेत बताए ।

अर्थमन्त्री खनालले भने, ‘नेपाल सरकारको १२० अर्बलाई बचाएर तिम्रो आफ्नो कम्पनी, अर्थसचिवको कम्पनीमा लगानी गर्नुभयो भनेर भनियो त्यो सम्भव छैन । वर्तमान व्यवस्थामा कानून बमोजिम सरकारको कुनै पनि मन्त्री, कर्मचारीले सरकारको बजेट बचाएर आफ्नो प्राइभेट कम्पनीमा जम्मा गर्न सक्दैन ।’ उनले थपे, ‘यस्ता गलत समाचारहरुमा माननियहरुले विश्वास गर्नु भएछ र समितिमा उठाइ दिनु भयो । स्पष्ट गर्न पाइयो । त्यस्तो खालको कुनै गतिविधि भएको छैन । त्यो भयो भने उत्तारदायित्व परीक्षण गर्ने निकायहरु अख्तियारहरुले हेर्छन् नै । एउटा जिम्मेवार निकायमा बसेको करदाताको जिम्मा लिएको आम रुपमा उत्तरदायि हुने व्यक्तिले त्यस्तो हिम्मत गर्दै गदैन ।’ उनले पछिल्लो समय गलत सूचनाहरुको बाढी नै आएकाले त्यस्तोमा सांसद्हरुलाई विश्वास नगर्न आग्रह गरे ।

भाँसिएको चार महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

दमौली (तनहुँ) ।  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भाँसिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो । चारमध्ये अस्थायी दुई लेन खण्ड सवारी चापका कारण चर्किएर गत साउन अन्तिम साता भाँसिएको थियो ।

भाँसिएको सडकखण्ड आजदेखि मर्मत गर्न थालिएको मुग्लिन पोखरा सडक आयोजना ९पूर्वी खण्ड० का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बताएका छन् । उनका अनुसार करिब एक सय मिटर सडक भाँसिएपछि सो क्षेत्रमा सवारी आवागमन बन्द गरी एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । सडक भाँसिएको ठाउँमा कालोपत्र उप्काएर मर्मत गर्न थालिएको उनले जानकारी दिएका छन् ।

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डअन्तर्गत जामुनेबाट आँबुखैरेनीसम्मको ४१ दशमलव पाँच किलोमिटर खण्डमा चार लेनमा कालोपत्र सम्पन्न भइसकेको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडीबी०को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज (बुधबार) पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान स्रोतले जनाएको छ । अख्तियारले पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दर्ता गर्ने निर्णय गरेको छ ।

यस्तै नागरिक उड्डयन प्राधिकरणका पूर्व निर्देशनक मुरारी भण्डारीलाई अख्तियारले नियन्त्रणमा लिएको छ । उनीहरूविरुद्ध आजै मुद्दा दर्ता गर्ने अख्तियारको तयारी छ । निर्णयसँगै यसमा जोडिएकाहरूलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अघि बढाएको हो । उनलाई अहिले म्याद थपका लागि विशेष अदालत लगिएको स्रोतले जानकारी दिएको छ ।

मोदी–पुटिन भेट : तेल आयातदेखि रक्षा सहयोगसम्म भारत–रूस एजेन्डा

नयाँदिल्ली । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन यसै हप्ता भारतको राजकीय भ्रमणमा आउने छन् । भ्रमणका क्रममा उनी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आर्थिक, ऊर्जा तथा रक्षा सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले उच्चस्तरीय वार्ता हुने भएको छ ।

यो भेटलाई भारतले मस्को र वासिङ्टनबीचको आफ्नो सन्तुलित कूटनीतिक हैसियत कायम राख्नुपर्ने संवेदनशील क्षणका रुपमा पनि हेरिएको छ ।

पुटिन बिहीबार नयाँदिल्ली आइपुग्ने र शुक्रबार मोदीसँग हुने औपचारिक वार्तामा दुवै पक्षले द्विपक्षीय प्रगतिसमेत समीक्षा गर्ने, आपसी हितका प्रमुख विषयमा छलफल गर्ने र थुप्रै विभागीय तथा व्यापारिक सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।

भारतले छुटदरमा रूसी तेल खरिद जारी राख्दै आएको अवस्थामा यो भेट हुँदैछ, यद्यपि वासिङ्टनले यसले अप्रत्यक्ष रूपमा मस्कोको युद्ध प्रयासलाई सघाइरहेको आरोप लगाउँदै आएको छ । ट्रम्प प्रशासनले यँही दबाबस्वरूप भारतीय आयातमा कुल ५० प्रतिशत भन्सार शुल्क लगाइसकेको छ । भारतले भने आफ्नो एक अर्ब ४० करोड जनसङ्ख्याको बढ्दो ऊर्जा माग पूरा गर्न आयात अपरिहार्य भएको स्पष्ट पारेको छ ।

सन् २०२१ पछि पुटिनको यो पहिलो भारत भ्रमण हो । मोदी गत वर्ष मस्कोमा हुनुहुन्थ्यो र दुवै नेताले यस वर्ष सेप्टेम्बरमा चीनमा भएको साङ्घाई सहयोग सङ्गठन ९एससिओ० शिखर सम्मेलनका क्रममा छोटो भेटघाट गरेका थिए ।

यसपटकको शिखर सम्मेलन अमेरिकाले पुनः अघि सारेको युक्रेन शान्ति प्रस्तावका कारण अझै संवेदनशील बनेको छ, किनकि केही पक्षले सो प्रस्ताव रूससहित झुकिएको भन्दै आलोचना गरेका छन् । भारतले युक्रेन युद्धमा रूसको खुला निन्दा नगरे पनि मोदीले वार्तामै आधारित शान्तिपूर्ण समाधानको आवश्यकता दोहोर्‍याउँदै आएका छन् । विश्लेषकहरूका अनुसार भारत खुलेर मध्यस्थतामा उत्रिन इच्छुक नदेखिए पनि पर्दा पछाडिबाट कूटनीतिक प्रयत्नलाई अस्वीकार गर्न सकिँदैन र मोदीले पुटिनलाई केही युक्रेनी तथा युरोपेली चिन्ताहरू समेट्न प्रेरित गर्न प्रयास गर्न सक्ने अनुमान गरिएको छ ।

आर्थिक सहकार्य यसपटकको मुख्य एजेन्डा रहनेछ । भारतीय अधिकारीहरूका अनुसार दुवै देशले व्यापार सहजता, समुद्री सहकार्य, स्वास्थ्य सेवा तथा मिडिया आदानप्रदानजस्ता विषयमा कागजातको प्याकेजमा काम गरिरहेका छन् । भारतले रूसमा औषधि, कृषि तथा कपडाको निर्यात बढाउन चाहेको छ र गैर–शुल्क अवरोध हटाउने अपेक्षा राखेको छ । यसैगरी दीर्घकालीन मल आपूर्ति र भारतीय दक्ष कामदारहरूको सुरक्षित तथा विनियमित रोजगार मार्गसम्बन्धी सम्झौता अन्तिम चरणमा पुगेको बताइएको छ ।

साथै, रूसी तेल खरिदबारे अमेरिकाको तीव्र दबाब यथावत् रहेको छ । ट्रम्प प्रशासनले अगस्टमा भारतीय आयातमा ५० प्रतिशत शुल्क लगाइदिएपछि दबाब झनै बढेको छ । भारतले भने अन्तर्राष्ट्रिय प्रतिबन्धको पूर्ण पालन गरिरहेको र राष्ट्रिय हितअनुसार ऊर्जा सुरक्षा प्राथमिकता भएको स्पष्ट पारेको छ ।

रूसका प्रमुख तेल उत्पादक कम्पनी रोजनेफ्ट र ल्युकआयल अमेरिकी प्रतिबन्धमा परेपछि भारतीय आयात रणनीति थप जटिल बन्न पुगेको बताइन्छ । यद्यपि भारतले रूसी ऊर्जा आपूर्ति पूर्णरूपमा बन्द गर्ने कुनै योजना नरहेको स्पष्ट गरेको छ ।

ऊर्जा क्षेत्रका अन्य प्रमुख विषयमा पूर्वी रूसमा भारतीय लगानी र नागरिक आणविक सहकार्यको विस्तार छन् । तमिलनाडुस्थित रूसी सहयोगमा निर्माण भइरहेको कुडानकुलम आणविक विद्युत् परियोजना यस सहकार्यको केन्द्रमा रहँदै आएको छ ।

रक्षा सहकार्य पनि वार्ताको मूल अंश हुनेछ । विशेष गरी भारतले सन् २०१८ को करिब पाँच अर्ब ४० करोड डलरको सम्झौताअनुसार बाँकी रहेका एस–४०० सतह–देखि–हवा मिसाइल स्क्वाड्रनको छिटो डेलिभरीका लागि दबाब दिन लागेको छ, किनकि युद्धका कारण रूसी आपूर्ति शृङ्खलामा अवरोध देखिएको छ । थप एस–४०० एकाइ वा अपग्रेड संस्करणको सम्भावना खोले पनि तत्काल कुनै घोषणा हुने अपेक्षा गरिएको छैन ।

यसबाहेक, सु–३० एमकेआई लडाकू विमानको स्तरोन्नति, महत्त्वपूर्ण रणनीतिक हार्डवेयरहरूको शीघ्र आपूर्ति, संयुक्त अभ्यास तथा विपद् व्यवस्थापनमा समन्वय विस्तारका विषयमा पनि छलफल हुनेछ । भारतले पछिल्लो समय रक्षा खरीदका स्रोत विविधीकरण गरे पनि रूस त्यसको सबैभन्दा ठूलो आपूर्तिकर्ता रहँदै आएको छ । रूसले अत्याधुनिक स्टिल्थ लडाकू सु–५७ भारतलाई उपलब्ध गराउने इच्छा व्यक्त गरिरहेका भए पनि नयाँदिल्लीले अन्य विकल्प पनि खुला नै राखेको छ ।

उज्यालो नेपाल पार्टीको घोषणा हुँदै, कुलमान पनि पुगे (तस्बिरहरू)

काठमाडौँ । ऊर्जामन्त्री मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी आज औपचारिक रुपमा घोषणा हुँदैछ ।यसको तयारी गरिएको प्रज्ञा प्रतिष्ठानमा चहलपहल बढेको छ । प्रज्ञा प्रतिष्ठानमा पार्टीको झण्डाका साथै सजावटका साथ सभाको तयारी भइरहेको छ ।

अहिले पार्टीका सुभेच्छुक र समर्थकहरू प्रज्ञा प्रतिष्ठान परिसरमा पार्टीको झण्डा र अन्य प्रचार सामाग्री सहित फोटो खिच्न व्यस्त छन् ।

घोषणा सभा कार्यक्रममा प्रमुख अतिथि ऊर्जामन्त्री मन्त्री कुलमान घिसिङ सहभागी हुने बताइएको छ ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

विष्णु पौडेलको दावी : एमाले एक्लिँदैन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मधेशमा एमालेलाई कसैले एक्लाउन नसक्ने दाबी गरेका छन् । प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै मधेशमा आज पनि सीट र मतको आधारमा एमाले पहिलो नम्बरको पार्टी भएको जिकिर गरे । उनले भने, ‘जनताले स्वीकार्दासम्म हामी एक्लिँयौं, अलग भयौं भन्ने मानसिकतामा हामी छैनौँ । हामी जनतासँग जोडिएर अगाडि बढेका पार्टी हौँ । जनतासँग जोडेर अघि बढ्छौँ । जनताबाट टाढा हुन हुँदैन भन्ने हाम्रो पार्टीको बुझाइ हो, मधेशमा हामी एक्लिएका छैनौँ ।’

उनले अहिले पनि मधेशमा आफ्नो पार्टी सबैभन्दा शक्तिशादी रहेको दाबी गरे । ‘आजका मितिमा पनि नेकपा एमाले मधेश प्रदेशको सबैभन्दा शक्तिशाली पार्टी हो । त्यसकारण एमालेलाई एक्लाउने, जनताले स्वीकार गर्दासम्म कसैले एक्लाएर एक्लिन्छ ? बहुसंख्यक जनताले स्वीकार गर्छन् कि गर्दैनन् भन्ने मुख्य कुरा हो,’ उनले भने । उनले सरकारले चुनाव गर्छ भने पनि गराउने बाटोमा नहिँडेको टिप्पणी गरेका छन् । संविधानलाई ट्रयाकमा ल्याउनको लागि संसद् पुनस्र्थापनाको विकल्प नभएको पौडेलको भनाइ छ ।


 

श्रीलङ्कामा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ४६५

कोलम्बो ।  श्रीलङ्कामा हालै आएको विनासकारी चक्रवातका कारण अहिलेसम्म कम्तिमा ४६५ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । उनीहरुले घर, उद्योग र सडकलगायतका क्षत्रिग्रस्त सुविधा पुनर्निर्माण गर्न करिब ७ अर्ब डलर आवश्यक पर्ने बुधबार जनाएका छन् ।

गत हप्ता देश भर वर्षा गराएको चक्रवातले निम्त्याएको बाढी र पहिरो पछि अन्य ३६६ जना बेपत्ता भएको जनाइएको छ ।

“पुनर्निर्माणका लागि करिब ६ देखि ७ अर्ब डलर आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको उद्धार कार्यको नेतृत्व गरिरहनु भएका अत्यावश्यक सेवाका आयुक्त–जनरल प्रभात चन्द्रकीर्तिले उल्लेख गरेका छन् ।

चन्द्रकीर्तीले सरकारले प्रत्येक परिवारलाई उनीहरूको घर सफा गर्नेको लागि २५ हजार रुपैयाँ तथा घर गुमाउनेहरूलाई २५ लाख रुपैयाँ सहयोग प्रधान गरेको बताएका छन् ।

राष्ट्रपति अनुरा कुमार दिसानायकले तीन वर्ष अघि देखि देश खराब आर्थिक सङ्कटबाट गुज्रिदै आएकाले राहत तथा उद्धार कार्यका लागि विदेशी सहयोग आवश्यक रहेको बताएका छन् । यस अघि उनले शनिबार आपतकालको घोषणा गर्दै अन्तर्राष्ट्रिय समर्थनका साथ पुनर्निर्माण गर्ने वाचा गरेका थियो ।

आर्थिक सङ्कटको सामना गरिरहेको अवस्थामा आएको यस विपत्तिको सामना गर्नेु सरकारको सबै भन्दा ठुलो चुनौती भएको दिसानायकले मङ्गलबार आफ्ना शीर्ष अधिकारीहरूलाई बताएका थिए ।

श्रीलङ्का सरकारले खाद्यान्न, इन्धन र औषधि जस्ता अत्वाश्यक आयातलाई पनि वित्त पोषण गर्न विदेशी मुद्रा समाप्त भएपछि अप्रिल २०२२ मा आफ्नो ४६ अर्ब अमेरिकी डलरको बाह्य ऋणमा चलिरहेको बताएको छ ।

देशको अर्थतन्त्र स्थिर भएको अवस्थामा आईएमएफबाट २.९ अर्ब डलरको ऋण प्राप्त गरेको र यसलाई श्रीलङ्काले मितव्ययिता उपायहरू सहित आफ्ना सुधारहरू कायम राख्नु पर्ने उनले बताएका छन् ।

सन् २०२२ को सङ्कटले महिनाौँ सम्म सडकमा विरोध प्रदर्शन भए पछि तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षलाई पद छोड्न बाध्य तुल्याएको थियो ।

सप्ताहन्तमा ठुलो बाढी आएपछि बुधबार देखि राजधानी कोलम्बोमा बाढीको पानी कम हुँदै गएको जनाइएको छ ।

देशका १५ लाख भन्दा बढी मानिसहरू प्राकृतिक प्रकोपबाट प्रभावित भएको र लगभग दुइ लाख मानिसहरु राज्यद्वारा सञ्चालित सुरक्षित आश्रयमा रहेको जनाइएको छ ।

मध्य पाहाडका दुर्गम क्षेत्रहरू बढी प्रभावित भएकाले अधिकारीहरूले सडकहरू सुचारु गर्न तथा सञ्चार लाइनहरू पुनस्र्थापना कठिन प्रयास गरिरहेको जनाइएको छ ।

मुलुक पर्यटनमा आधारित भएकाले विपत्तिको बावजुद, श्रीलङ्काले मङ्गलबार कोलम्बो बन्दरगाहमा लक्जरी क्रुजलाइनरलाई स्वागत गरेको अधिकारीहरूले बताएका छन् ।

यो प्रयासले “विश्वलाई श्रीलङ्का सुरक्षित, खुला रहेको तथा पर्यटकलाई स्वागत गर्न तयार रहेको शन्देश प्रवाह गर्ने श्रीलङ्काको पर्यटक बोर्डले जनाएको छ ।

 

एचआइभी सङ्क्रमित खुल्दा र नखुल्दा दुवैमा समस्या

चितवन ।  एचआइभी एड्स सङ्क्रमित खुल्दा र नखुल्दा दुवैमा समस्या हुने गरेको पाइएको छ । यहाँका सङ्क्रमितहरुले खुल्दा रोजगारी र घरपरिवारमा समस्या हुने गरेको एवं नखुल्दा सेवा पाउन समस्या हुने गरेको बताएका छन् ।

माडी नगरपालिकाकी अस्मिता महतो (नाम थर परिवर्तित)ले सङ्क्रमित भनेर खुल्दा रोजगारी नपाउने र नखुल्दा सेवा नपाउने गरेको गुनासो गरेकी छिन् । उनी भन्छिन्, “खुल्दा पनि समस्या नखुल्दा पनि समस्या कसरी हामीले काम गर्ने रु”

आफुले काम गरिराखेको संस्थाले एचआइभी सङ्क्रमित भन्ने थाहा पाएपछि कामबाट निकाला गरेको उनले बताएकी छिन् । आफूँले एआरटी खान थालेको थाहा भएपछि रोजगारी खोसिएको उनले गुनासो गरेकी छिन् । परिवार चलाउन समस्या परेर काम गर्दा पनि रोजगारीबाट निकालिएको गुनासो गर्दै उनले सङ्क्रमित भनेर खुल्दा समस्या भएको बताँउछीन् ।

परिवारबाट सहयोग पाए पनि काम गर्ने स्थानमा भने सहयोग नपाएको उनले गुनासो गरेकी छिन् । भरतपुर महानगरपालिकाकी ५६ वर्षीया अम्बिका देवकोटा (नाम थर परिवर्तित)ले सङ्क्रमित नखुल्दा पनि समस्या हुने गरेको गुनासो उनको गुनासो छ । आफूले विसं २०६९ देखि एचआइभी एड्स सङ्क्रमित भएर औषधि खाँदै गर्दा पनि अहिलेसम्म खुल्न नसकेको उनले बताएकी छिन् ।

औषधि खाँदै गरेको भए पनि घरमा छोरालाई बाहेक कसैलाई थाहा नदिएको उनको भनाइ छ । उपचारका क्रममा आफ्नो व्यापार व्यवसाय सबै गुमाएको भए पनि उनी अहिलेसम्म खुलेर आउन नसकेको बताएकी छिन् । उनले भनिन्, “किराना व्यवसाय गरेका थियौँ, त्यो पनि सकियो, अहिले ज्याला मजदुरी गरेर बस्नुपरेको छ ।”

कालिका नगरपालिकाकी अस्मिता सुवेदी ९नामथर परिवर्तित० आफूलाई सङ्क्रमित भएको थाहा पाएपछि परिवारबाट समेत हेला हुनुपरेको बताँउछिन्। आफू अहिले ५६ वर्ष भए पनि सुरुआती समयमा सासू र नन्दले घरबाट बाहिर निकालेपछि त्रिपाल टाँगेर बस्नुपरेको गुनासो गरिन् ।

उनले भनिन्, “श्रीमान् का कारण आफूले परिवारबाट पाउनुपर्ने दुःख पाएको छु, परिवारले खान नदिएर छिछि र दुरदुर गर्ने गरेका थिए ।” पानी लिन धारामा जाँदासमेत परिवारका सदस्यले अन्य धारा प्रयोग गर्ने गरेको भए पनि अहिले खुलेपछि भने पाउने सहयोग पाएको उनको भनाइ थियो । अहिले औषधि खाँदै समाजमा परिवर्तनका लागि काम गर्दै आएको उनले बताईन् । आफू घर परिवार र समाजमा परिचित भए पनि मिडियामा नाम नराख्न उनको आग्रह छ ।

बागलुङका ६५ वर्षीय रामचन्द्र आचार्य (नाम थर ठेगाना परिवर्तित)ले खुलेर आउन नसक्दा समाजमा गुम्सिएर बस्नुपरेको बताँउछन् । खुलेर आउँदा समाजले सुरुवातमा समस्या परे पनि अहिले त्यस्तो समस्या नभएको भन्दै सबैले मिलेर एड्ससँग लड्नुपर्ने उनले बताएका छन् । आफूलाई सङ्क्रमण देखिएपछि काम गरेको कम्पनीले निकालेर नेपाल आउँदा घरपरिवारबाट समेत घृणाको व्यवहार बेहोर्नुपरेको उनले बताएका छन् । रोजगारी गर्न जाँदासमेत कार्यालयका अन्य कर्मचारीले हेर्ने दृष्टिकोण परिवर्तन नहुँदा समस्या झेल्नु परेको उनले बताए ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलले सन् २०३० सम्ममा एचआइभी एड्स सङ्क्रमण शून्यमा झार्ने योजनासहित काम गरिएको बताएका छन् । अहिले सङ्क्रमण नियन्त्रण र सङ्क्रमितको स्वास्थ्यलाई मध्यनजर गर्दै काम गरिएको उनको भनाइ छ । उनले भने, “अहिले पहिलेको तुलनामा खासै ठूलो समस्या नभए पनि यसलाई शून्यमा झार्नका लागि समुदायमा चेतना बढाउन आवश्यक छ ।”

एएचएफ नेपाल भरतपुर अस्पतालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले एचआइभी सङ्क्रमितलाई समाजले सहज रुपमा लिएर राम्रो व्यवहार गरिदिनुपर्ने बताएका छन् । खुलेर नियमित औषधि खाएमा रोग नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।

सरकारलाई सांसदहरुको प्रश्न : बुल्गेरियाबाट हतियारसहितको कार्गो भित्रिएको कुरा के हो ?

काठमाडौं । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले बुल्गेरियाबाट हतियारसहितको कार्गो विमान नेपाल आएको विषयमा सरकारको जवाफ मागेका छन् । बुधवार विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले बुल्गेरियाबाट हतियारसहितको कार्गो विमान नेपाल आएको विषयमा सरकारको जवाफ माग गरेका हुन् । उनले जेन–जी आन्दोलनमा भदौ २४ गते घुसपैठ गरेर विध्वंश गर्ने टिओवी संस्थासहितका नक्कली नागरिकता रहेकाहरुलाई कहिले डिपोर्ट गरिन्छ ? भन्दै प्रश्न समेत गरे ।

उनले नक्कली नागरिकता भएकाहरुलाई तत्काल डिपोर्ट गर्न पनि माग गरे । उनले भारतबाट आउने पेट्रोल पाइपलाइनबाट आउने गरेकोमा कमिसनका लागि अहिले ढुवानी गरेर ल्याउने प्रवृत्ति बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘जेन–जी आन्दोलनमा भदौ २४ गते घुसपैठ भएर जुन विध्वंश भयो, यो टिओबी ग्रुपसहितका नक्कली नागरिकता भएकालाई कहिले डिपोर्ट गरिन्छ ? डिपोर्ट तुरुन्त गरियोस् । बजारमा व्यापक चर्चा भएको हतियारसहितको कार्गो नेपाल भित्रियो भन्ने छ । यो विषय के हो ?’

उनले भने, ‘बुल्गेरियाबाट सैन्य कार्गो आएको भन्ने छ । भारतबाट आउने पेट्रोल लाइनबाट आइरहेको छ तर यो कमिसनको खेलमा ढुवानी गरेर ल्याउने प्रवृत्ति बढेको छ । यसको कारबाही कहिले हुन्छ ? कृषि मल खरिदको लागि २८ अर्ब ८२ करोड यस वर्षमा बजेट निकासा गरिएको छ । तर नेपाल सरकारले ५० करोडको मल कारखाना स्थापना गर्न सक्दैन । नेपालभित्र ५० करोडको लागनी गरेर मल कारखाना खोल्न किन सक्दैनौँ ।’ राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले सरकार परिवर्तन भएर मात्रै नपुग्ने भन्दै कर्मचारीतन्त्रमा परिवर्तन आउन जरुरी रहेको बताए । उनले प्रधानमन्त्री र मन्त्रीहरु जनताप्रति गम्भीर रहेको विश्वास गरेको भए पनि सरकारी सेवामा सुस्तता आइरहेको बताए ।

उनले भने, ‘सरकार मात्रै परिवर्तन भएर भएन । कर्मचारीमा पनि परिवर्तन आउनु पर्छ । सात दिनभित्र हुन्छ भने हुन्छ, हुँदैन भने हुँदैन भनेर आउनु पर्ने थियो । हाम्रा प्रधानमन्त्री, हाम्रा मन्त्रीहरु जनताप्रति असाध्यै गम्भीर हुनुहुन्छ भन्ने लागेको छ । तर जनताका कामहरु किन यसरी रोकिरहेका छन् ? किन यस्तो भइरहेको छ ? निराशा र आक्रोश हामीमा पनि पैदा भइरहेको छ ।’ उनले राष्ट्र विकासका लागि सबै एक भएर काम गर्न जरुरी रहेको बताए ।

खगेन्द्र सुनारले किन तोडे कुलमानसँगको सहमति ?

काठमाडौँ । खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ आफ्नै निर्वाचन चिह्न ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक’ बाटै निर्वाचनमा भाग लिने निष्कर्षमा पुगेको छ । यसअघि उज्यालो नेपाल पार्टीको निर्वाचन चिह्न ‘बलेको चिम’ एकल चुनाव चिह्नबाटै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि दर्ता भए पनि सहमति टुटेपछि सुनार नेतृत्वको पार्टी आफ्नै निर्वाचन चिह्न लिएर चुनावमा भाग लिन लागेको हो ।

मंसिर १० गते कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको ‘बलेको चिम’ चिह्न लिएर निर्वाचनमा भाग लिने दुई पार्टीबीच सहमति भएको थियो । कानुनी झमेला हुने भएकाले पूर्व सहमतिबाट अलगिएर आफ्नै चुनाव चिह्न ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक’ लिएर निर्वाचनमा सहभागी हुन गरी मंसिर १६ गते पुनरावलोकन गरेर दर्ता गरिएको निर्वाचन आयोगले जनाएको छ । ‘सुरुमा उज्यालो नेपाल पार्टीकै चिह्नमा चुनाव लड्ने सहमति गरेका थियौँ, तर यसमा कानुनी झमेला रहेछ’, उनले भने, ‘साथै पार्टीले चुनाव जिते पनि अस्तित्व नदेखिने रहेछ, यसैले निर्णय परिवर्तन गरी अब आफ्नै चुनाव चिह्नमा चुनाव लड्ने भएका हौं ।’

नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन १०० घण्टा निरन्तर अन्तर्वार्ताको तयारी

काठमाडौँ। नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने अभूतपूर्व प्रयास फेरि एकपटक सुरु भएको छ। केही वर्षअघि पत्रकार रवि लामिछानेले ६१ घण्टा ५ मिनेटको निरन्तर अन्तर्वार्ता लिएर नेपालको नाम विश्वसामु चम्काएका थिए। तर उक्त रेकर्ड पछि विदेशी टोलीले तोडेर नयाँ कीर्तिमान बनायो।

अब सोही रेकर्डलाई फेरि नेपालमै फर्काउने ऐतिहासिक मिशन लिएर युवा पत्रकार तथा जेनजी पत्रकार  गौरव पौडेल अघि बढेका छन्। उनीहरूले १०० घण्टा लगातार—अर्थात् चार दिन चार रात-नेपालका विभिन्न विशिष्ट व्यक्तित्व, कलाकार, जनप्रतिनिधि, खेलाडी, उद्यमीदेखि मनोवैज्ञानिक तथा सामाजिक अभियन्तासम्मसँग निरन्तर अन्तर्वार्ता लिँदै नयाँ विश्व कीर्तिमान कायम गर्ने लक्ष्य राखेका छन्।

यो अभियानलाई अझ विशेष बनाएको छ कि अन्तर्वार्ताको क्रममा बेन्जी जस्ता लोकप्रिय र चर्चित पात्र सहित राष्ट्रियस्तरमा प्रभाव राख्ने व्यक्तित्वहरूको सहभागिता सुनिश्चित गरिएको छ। नेपालमा पहिलोपटक यति लामो अवधिको, बिना रोकावट चल्ने, प्रोफेशनल टेलिभिजन सेटअपमा आधारित अन्तर्वार्ता म्याराथन हुन लागेको हो।

सम्पूर्ण प्राविधिक सहयोग, प्रसारण तयारी, स्वास्थ्य सुरक्षा व्यवस्थादेखि मनोवैज्ञानिक काउन्सेलिङसम्मको व्यवस्था मिलाइएको आयोजक टीमले जनाएको छ। विश्व रेकर्ड फर्काउने मात्र होइन, नेपाली पत्रकारिताको चुनौती, क्षमता र लगनलाई विश्व सामु पुनः प्रमाणित गर्ने लक्ष्य यो परियोजनाको मूल मनसाय रहेको छ।

यो अभियान सफल भएमा नेपालले पुनः एकपटक विश्व मिडिया क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्नेछ। आयोजक पक्षले नेपाली जनताबाट हौसला र सकारात्मक ऊर्जाका लागि अपिल गरेको छ।

 

१६ वर्ष उमेर पुगेको व्यक्तिले काम गर्न पाउने कानून बनाउनु पर्छ : वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले १६ वर्ष उमेर पुगेको व्यक्तिले काम गर्न पाउने कानून बनाउनु पर्ने माग गरेका छन् । आज (बुधवार) सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले अमेरिकासहितका अन्य देशहरुमा १६ वर्षमा काम गर्न पाउने व्यवस्था रहेको तर नेपालमा १८ वर्ष नै पुग्नुपर्ने व्यवस्था रहेको बताए । यसलाई हटाएर १६ वर्षमै काम गर्न पाउने कानूनी प्रावधान जरुरी रहेको बताए ।

नेपाली युवाहरु विश्वभर छरिएका र उनीहरुले पठाएको रकमबाट देश चलिरहेको भन्दै उनीहरुलाई स्वदेशमै रोजगारी दिनसक्ने वातावरण बनाउनु पर्ने बताए । उनले भने, ‘हाम्रो करिव ६० लाख युवाहरु संसारभर बाँडिएका छन् । उनीहरुले यति पैसा कमायौं भनेर पैसा पठाउँछन् । उनीहरुको श्रमशक्ति ठूलो संख्याको श्रमशक्तिबाट प्राप्त गर्दछन् । जसले उनीहरुलाई रोजागरी दिन्छ । रोजगारी हामीले भन्छौँ, एउटा ठूलो अवसर हो ।’

उनले भने, ‘यहाँ ल्याइसकेपछि त्यो पैसाको बदलामा कि त काम दिनुपर्छ । ऋणमाथि ऋण थुपारेर सरकारले प्रयोग गर्ने । देश विकास गर्ने हो भने काम गर्नसक्ने व्यक्ति १६ वर्षदेखि काम गर्नसक्छ । कानून नै बनाउनु पर्छ । कानूनमा १८ वर्ष पुगेपछि काम गर्न पाउने कानून छ । १६ वर्षमा काम गर्न सक्छन् । अमेरिकामा सक्छ, अरु देशमा सक्छन् । नेपालमा १८ वर्ष लगाउनु पर्छ ? दुई वर्ष काम बिहीन हुने । १६ वर्षकोले पनि काम गर्न पाउने कानून बनाउनु पर्छ ।’ उनले ऋणमाथि ऋण थुपार्ने भन्दा सरकारले रोजगारी दिने वातावरण सिर्जना गर्नुपर्ने बताए । –न्युज एजेन्सी नेपाल

 

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापा  ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला भलिबल प्रतियोगिता सुरु हुँदैछ ।
अर्जुनधारा नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजना र लक्ष्मी माध्यमिक विद्यालयको सहआयोजनामा आजदेखि यही मंसिर २१ गतेसम्म प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताका लागि अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदानमा कोर्ट र प्यारापिट निर्माण गरिएको छ । कोर्टका लागि म्याटको अभावमा मैदानलाई स्तरोन्नति गरिएको विद्यालयका अध्यक्ष वीरबहादुर राईले बताएका छन् । विद्यालय परिसरमै एक हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको छ ।
आजको पहिलो खेलमा नेपाल एपिएफ क्लब र एभरेस्ट लुम्बिनी क्लबबीच तथा दोस्रो खेल न्यू डायमण्ड क्लबविरुद्ध कोशी प्रदेश भलिबल टिमले प्रतिस्पर्धा गर्दैछ । मङ्सिर १८ गते पहिलो खेल नेपाल एपिएफ क्बल र त्रिभुवन आर्मी क्बलबीच हुनेछ । त्यस्तै सोही दिन दोस्रो खेलमा न्यू डायमन्डले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
मङ्सिर १९ गते पहिलो खेल एभरेस्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । सोही दिन दोस्रो खेल कोशी प्रदेश भलिबल टिमले नेपाल पुलिस क्लबको सामना गर्नेछ । प्रतियोगितामा सहभागी छ टोलीलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा एपिएफ, एभरेष्ट र त्रिभुवन आर्मी छ । त्यस्तै समूह ‘बि’मा न्यु डायमण्ड, कोशी प्रदेश र नेपाल पुलिस रहेका छन् ।
मङ्सिर २० गते पहिलो सेमिफाइनल खेल समूह ‘ए’ को विजेता र समूह ‘बि’ को उपविजेताबीच हुनेछ । सोही दिन अन्तिम सेमिफाइनल खेल समूह ‘बि’ को विजेता र समूह ‘ए’ को उपविजेताबीच हुनेछ । फाइनल खेल मङ्सिर २१ गते हुनेछ । प्रतियोगिताको विजेताले रु दुई लाख, दोस्रोले रु एक लाख र तेस्रो हुने टोलीले रु ३० हजार राशिको पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताएका छन्  ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार पाउँदा, प्रत्येक दिनको प्लेयर अफ द म्याचले रु पाँच हजार नगद र ट्रफी प्राप्त गर्नेछन् । बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले रु १० हजार तथा ट्रफी प्राप्त गर्नेछन् ।

गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ

काठमाडौं । प्रहरीले गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले उनलाई पक्राउ गरेको एसएसी शिवकुमार श्रेष्ठले जानकारी दिएका छन् । बुधबार उनलाई प्रहरीले ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो ।

उनीमाथि प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको घटनामा संलग्न भएको आरोप छ । यसअघि सीआइबीले प्रभु बैंककै सीइओ अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरिसकेको थियो । उनीहरूमाथि सिआइबीले बैंकिङ कसुर ऐन अनुसार म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले पर्यटक लोभ्याउँदै

गण्डकी  ।   गण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्चा कमाइरहेको छ ।
विश्वमा हिमाल आरोहणको इतिहास रच्ने अन्नपूर्ण प्रथमदेखि गण्डकी प्रदेशका थुप्रै प्राकृतिक पर्यटकीय पूर्वाधारले स्वदेशी एवं विदेशी पर्यटकको मन लोभ्याएको छ । यस्तै प्राकृतिक पर्यटकीय पूर्वाधारमध्येको अन्नपूर्ण संरक्षण क्षेत्र यहाँको महत्त्वपूर्ण पर्यटकीय आकर्षक गन्तव्य हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत समेटिएको यस क्षेत्रको प्राकृतिक, संस्कृतिक सम्पदा र वातावरण जोगाउन, पर्यटकको सेवासुरक्षामा स्थानीय जनतासँग सहकार्य र समन्वय गर्दै एक्यापले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
एक्यापका प्रमुख रविन कडरियाका अनुसार यो संरक्षण क्षेत्र कास्कीको उत्तरी क्षेत्र, म्याग्दीको उत्तरपूर्वी क्षेत्र, मुस्ताङ, मनाङ र लमजुङ जिल्लाको उत्तरी क्षेत्र गरी कूल सात हजार ६२९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र स्वदेशी एवं विदेशी पर्यटकको लागि आकर्षक र रमणीय हुनुका साथै यहाँको प्राकृतिक सुन्दरता, भौगोलिक बनावट, मानव बस्ती, जैविक र सांस्कृतिक विविधताको प्रमुख भूमिका रहेको उनको भनाइ छ । यी सबैको सङ्गमका कारण अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने अन्नपूर्ण पदयात्रा मार्ग विश्वको दश उत्कृष्ट पदमार्गमा पर्न सफल भएको उनले उल्लेख गरेका छन्  ।
यस क्षेत्रमा पर्ने अग्ला र सुन्दर हिमाल, विशेषतः अन्नपूर्ण प्रथम, दोस्रो, तेस्रो, चौथो, अन्नपूर्ण दक्षित, माछापुच्छ्रे हिमाल, लमजुङ हिमालका साथै अधिकांश झरना तथा छहरा, हिमनदीलगायत प्राकृतिक सम्पदाले विश्वको ध्यान खिचिरहेको छ ।
एक्याप क्षेत्रमा पाइने विभिन्न प्रजातिका लालीगुराँसको जङ्गल, माथिल्लो मुस्ताङका सीमावर्ती हिमालय क्षेत्रका साथै विचित्रको भूबनोटले यसको आकर्षण बढ्दै गएको एक्यापका प्रमुख कडरियाले बताएका छन् । उनका अनुसार पछिल्ला तीन वर्षको तथ्याङ्कले यहाँको पर्यटकीय आकर्षण झनझन बढ्दै गएको पुष्टि हुन्छ ।
प्रमुख कडरियाका अनुसार सन् २०२२ मा यस क्षेत्रमा एक लाख २९ हजार ७१८ विदेशी पर्यटक आएका थिए । सन् २०२३ मा एक लाख ९१ हजार ६६६, सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना पर्यटक आएका उनले जानकारी दिएका छन्  । उनका अनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म दुई लाख ७३ हजार ६४६ जना पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरिसकेका छन् ।
सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको थियो । समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइमा अवस्थित अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।
अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिक रूपमा पदयात्राका लागि पनि आकर्षक गन्तव्य बन्दै गएको एक्यापका प्रमुख कडरियाले बताउनुभयो । पछिल्ला समयमा अन्नपूर्ण संरक्षण क्षेत्रमा पदयात्रीको आगमन बढे पनि पदमार्ग क्षेत्रमा जथाभावी खनिएका बाटाका कारण पर्यटकको बसाइँ अवधि भने छोटिएको उहाँको बुझाइ छ ।
अन्नपूर्ण पदयात्रा क्षेत्रमा राउन्ड अन्नपूर्ण पदयात्रा डुम्रे, बेँसीसहर, मनाङ, मुुक्तिनाथ, तातोपानी हुँदै पोखरासम्मका लागि २१ दिन लाग्ने पदयात्रा सडक विस्तार भएसँगै १२–१३ दिनमा छोटिएको ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिएका छन् ।
“बाटो विस्तार भएसँगै २१ दिनको यात्रा १२–१३ दिनमा छोटिएको छ । ती जथाभावी खनिएका बाटोलाई व्यवस्थित गर्नु, पूर्वाधार विस्तार गर्नुपर्ने छ । यात्रा अवधि घटेसँगै पर्यटकलाई ‘हाइ अल्टिच्युड’को समस्या कम भएको छ । छोटो अवधिमा अन्नपूर्ण पदमार्गमा यात्रा गर्न पाउँदा समयको बचत पनि भएको छ”, उनले भने ।
लामो पदयात्रा गर्न चाहने पदयात्रीको पदयात्रा अवधि लम्ब्याउने गरी शीघ्र अन्य वैकल्पिक मार्गको खोजी गर्नुपर्नेमा जोड दिँदै टानका अध्यक्ष आचार्यले सोको व्यवस्था नगरिएको अवस्थामा यहाँ आउने पर्यटक अन्यत्र मोडिन सक्ने सम्भावनालाई बेलैमा ख्याल राख्नु जरुरी रहेको बताएका छन् ।
पछिल्लो तथ्याङ्कका आधारमा सबैभन्दा बढी भारतीय पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका जानकारी दिँदै उनले गत साउन १ गतेदेखि हालसम्म ४५ हजार ७३६ जना भारतीय पर्यटकले यस क्षेत्रको भ्रमण गरेका उल्लेख गरेका छन्  । त्यसपछि बढी भ्रमण गर्ने विदेशीमा क्रमशः बेलायत, फ्रान्स, अमेरिका, जर्मनी, इजरायल, चीन, अष्ट्रेलिया, साउथ कोरिया र मलेसियाका पर्यटक रहेका उनले जानकारी दिएका छन् ।
पछिल्लो समय यस संरक्षण क्षेत्रका लोमान्थाङ, विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाललगायत पदयात्रा क्षेत्रमा बढी सङ्ख्यामा पर्यटक आउने गरेका छन् । अन्नपूर्णं संरक्षण क्षेत्रको पदयात्रा एवं भ्रमणका लागि भारतीय पर्यटकले रु एक हजार प्रवेश शुल्क बुझाउनुपर्छ भने अन्य विदेशी पर्यटकले रु तीन हजार शुल्क बुझाउनुपर्छ ।
यस क्षेत्रमा पर्ने कास्कीको मादी गाउँपालिकास्थित नेपालकै कम उचाइमा रहेको कपुचे हिमताल पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बनेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिएका छन् । उनका अनुसार पछिल्ला समयमा म्याग्दीतर्फको अन्नपूर्ण नर्थ बेस क्याम्प पनि स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।

मधेसमा ‘खाली हात’ बन्दै एमाले

काठमाडौं । मधेस प्रदेशमा नेकपा एमालेले पाएको राजनीतिक हैसियत विस्तारै खस्किँदै गएको छ । केही हप्ताअघि मात्रै विवादास्पद परिस्थितिमा प्रदेशको नेतृत्वमा पुगेका सरोजकुमार यादव, जसलाई एमाले प्रदेश संसदीय दलको नेता भएकै आधारमा प्रदेश प्रमुखले होटलमै बिहानै शपथ गराएका थिए–अब आफ्नै पद जोगाउन मुस्किलमा परेका छन् ।

सर्वोच्च अदालतले उनलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो । विश्वासको मतका लागि बोलाइएको बैठक आज बसे पनि सात दलको मोर्चा एमालेविरुद्ध उभिएका कारण यादवले मत हासिल गर्ने सम्भावना निकै कम रहेको देखिएको छ ।

यादवको नियुक्ति विवादित भएपछि सुरु भएको सत्ता–आकस्मिकताको शृङ्खला एकपछि अर्को गर्दै एमालेविरुद्ध परिणत हुँदै गएको छ । एमाले कोटाबाट प्रदेश प्रमुख बनेकी सुमित्रा सुवेदी भण्डारीलाई संघीय सरकारले हटाइसकेको छ । प्रदेश सभामा एमालेकै सिफारिसमा सभामुख बनेका रामचन्द्र मण्डल महाअभियोग लागेपछि पदच्युत भइसकेका छन् । अहिले मुख्यमन्त्री यादवको पद पनि धरापमा परेको राजनीतिक वृत्तमा विश्लेष भइरहेको छ।

प्रदेशमा यो संकटको सुरुवात भदौ २४ मा जनजी आन्दोलन चर्किदा तत्कालीन मुख्यमन्त्री सतिश सिंहले दिएको राजीनामाबाट भएको थियो । उनीपछिका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत पाउनुअघि नै साथ नपाउने निश्चित भएपछि पद त्यागे । त्यसपछि सभामुख मण्डलले संविधानको सामान्य प्रक्रियालाई बेवास्ता गर्दै अर्को धारा प्रयोग गरी यादवलाई मुख्यमन्त्री बनाउने बाटो खोलेका थिए। यही निर्णयपछि सत्ता–संघर्ष थप तीव्र बन्यो ।

यही विवादित नियुक्तिलाई लिएर सात दल सर्वोच्च अदालत पुगे । अदालतले धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतमा नियुक्त गरिएका यादवलाई धारा १६८ (२) बमोजिम विश्वासको मत लिन आदेश गर्‍यो र दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गर्‍यो । कानुन व्यवसायीहरूका अनुसार अब अन्तिम सुनुवाइपछि मुख्यमन्त्री यादव पदबाट हट्ने सम्भावना प्रबल छ ।

एमाले बाहेकका दलहरू एमाले नेतृत्वमाथि एकपछि अर्को हुँदै देखिएको समस्याको मूल कारण एमालेको ‘केन्द्रीकृत शैली’ र ‘हठ’ भएको दाबी गर्छन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले प्रदेश प्रमुखदेखि सभामुख र मुख्यमन्त्री नियुक्तिमा देखिएको ‘अवैधानिक चाल’ नै अहिले एमालेको संकटको मुख्य कारण भएको बताइरहेका छन् । राजनीतिक विश्लेषकहरू पनि एमाले नेतृत्वको व्यवहार, विशेषतः केपी शर्मा ओलीको शैली, मधेसमा प्रतिकूल प्रभाव पारिरहेको तर्क गर्छन् ।

प्रदेशभित्र एमाले स्वयं पनि आन्तरिक खटपट भोगिरहेको देखिन्छ । जनकपुरका स्थानीय नेताहरूका अनुसार रघुवीर महासेठ जस्ता प्रभावशाली नेताहरू पछिल्ला गतिविधिमा निष्क्रिय देखिनु गुटबन्दी गहिरिएको संकेत हो । जनजी आन्दोलनपछि एमालेप्रति बढेको रोष, ओलीको बारम्बारका टिप्पणी र कमजोर स्थानीय सक्रियताले पार्टीलाई थप घेराबन्दीमा पुर्‍याएको नेताहरू स्वीकार्छन् । मधेसमा एमालेले केही महिनामै प्रदेश प्रमुख, सभामुख गुमाइसकेको छ । अब मुख्यमन्त्रीको पद पनि जोगिने सम्भावना न्यून हुँदा पार्टीको आगामी राजनीतिक प्रभाव समेत प्रश्नचिह्नमा परेको छ ।

अस्ट्रेलियाको नयाँ नियम बालबालिकालाई अनलाइनमा जोखिममा पार्ने : युट्युब

सिड्नी । युट्युबले बुधबार अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि लाग्ने सामाजिक सञ्जाल प्रतिबन्धको कडा आलोचना गर्दै यसलाई ‘छिटो निर्णय गरिएको’ र बालबालिकालाई अनलाइनमा कम सुरक्षित बनाउने बताएको छ ।

अस्ट्रेलियाले १० डिसेम्बरदेखि फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युब जस्ता लोकप्रिय सामाजिक सञ्जालमा १६ वर्ष मुनिका प्रयोगकर्ताहरूलाई प्रतिबन्ध लगाउने योजना बनाएको छ ।

युट्युबका सार्वजनिक नीतिका प्रमुख रेचेल लर्डले भने,“यो कानूनले बालबालिकालाई अनलाइन सुरक्षित बनाउने वाचा पूरा गर्ने छैन । बरु, अस्ट्रेलियाली बालबालिकालाई युट्युबमा कम सुरक्षित बनाउने सम्भावना छ । हामीले अभिभावक र शिक्षकहरूबाट यस्ता चिन्ताहरू सुनेका छौं ।”

युट्युबका अनुसार १० डिसेम्बरदेखि १६ वर्ष मुनिका सबै अस्ट्रेलियाली प्रयोगकर्ताहरू स्वचालित रूपमा साइन आउट हुनेछन् । यी प्रयोगकर्ताहरू खाता बिना वेबसाइट हेर्न सक्ने भए पनि धेरै सुविधा जस्तै ‘सुरक्षा फिल्टर’ जस्ता सेटिङहरू गुमाउनेछन् ।
लर्डले भनेका छन्,“हामी डिजिटल संसारमा सुरक्षित राख्ने विश्वास गर्छौं ।”

युट्युबले खाताहरू सुरक्षित राख्ने र प्रयोगकर्ता १६ वर्ष पुगेपछि पुनः सक्रिय गर्न सक्ने व्यवस्था गरेको छ । यसले पहिलेका डाटा हटाउने छैन ।
अस्ट्रेलियाली सञ्चार मन्त्री अनिका वेल्सले युट्युबको आलोचना ‘असामान्य’ भएको बताउँदै भने,“यदि युट्युबले हामीलाई आफ्नो वेबसाइट पूर्ण रूपमा सुरक्षित नभएको र केही सामग्री बालबालिकाको लागि अनुपयुक्त भएको सम्झाइरहेको छ भने, यो समस्या युट्युबले समाधान गर्नुपर्छ ।”

विश्वभर सामाजिक सञ्जालका सम्भावित जोखिमहरूसँग जुझ्दै नियामकहरूले यस किसिमको प्रतिबन्ध काम गर्न सक्छ कि सक्दैन भन्ने विषयमा चासो राखिरहेका छन् ।

अस्ट्रेलियन सरकारले सुरुवातमा प्रतिबन्ध पूर्ण रूपमा प्रभावकारी नहुन सक्ने र केही उमेर मुनिका प्रयोगकर्ताहरू नियमको घेरेबाट बाहिर पर्न सक्ने स्वीकार गरेको छ । तर यदि प्लेटफर्महरूले ‘उचित कदम’ नचालेको खण्डमा तिनीहरूलाई ४९.५ लाख अस्ट्रेलियन डलर (३२ लाख अमेरिकी डलर) जरिवाना लाग्नेछ ।

मेटाले उमेरको आधारमा केही खाता निष्क्रिय गर्न सुरु गरिसकेको छ । डिजिटल अधिकार समूह ‘डिजिटल फ्रिडम प्रोजेक्ट’ ले गत हप्ता उच्च अदालतमा मुद्दा दायर गर्दै यसलाई अभिव्यक्ति स्वतन्त्रतामा ‘अन्यायपूर्ण हमला’ भएको दाबी गरेको छ ।

ललितपुर महानगरपालिकाले मनायो ३४ औं अन्तर्राष्ट्रिय दिवस (तस्बिरहरु)

ललितपुर । ललितपुर महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको ३४ औं अन्तर्राष्ट्रिय दिवस मनाएको छ ।

“अपाङ्गता समावेशी समाजको प्रतिवद्धतास सामाजिक उन्नतिको संवर्द्धन” भन्ने मूल नाराका साथ महानगरपालीकाले आज अपाङ्गता भएका व्यक्तिहरुको ३४ औं अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको हो ।

सो कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूले बनाएका चित्रकला, नृत्य, गायन लगायत अपाङ्गता भएका व्यक्तिहरूको विभिन्न क्षमता प्रदर्शनी समेत गरिएको छ ।

 

रुसको मुद्रास्फीति वर्षको अन्त्यसम्म ६ प्रतिशतमा झर्नेः पुटिन

मास्को ।  रुसको मुद्रास्फीति दर यस वर्षको अन्त्यसम्म करिब ६ प्रतिशतमा झर्ने अपेक्षा गरिएको छ । उक्त दर सरकार र केन्द्रीय बैङ्कले गरेको पूर्वानुमानभन्दा कम रहेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार बताका छन् ।

मार्चमा १० प्रतिशतभन्दा माथि पुगेको मुद्रास्फीति अहिले वर्षेनी आधारमा ७ प्रतिशतभन्दा तल झरेको छ र वर्षको अन्त्यसम्म करिब ६ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

राष्ट्रपतिले भने, “आर्थिक वृद्धिको गति केही सुस्त हुँदै गएको छ । रुसको कुल घरेलु उत्पादन यस वर्षको पहिलो नौ महिनामा १ प्रतिशतले बढेको छ ।”

पूरा वर्षको आर्थिक वृद्धिको अनुमान ०.५ प्रतिशतदेखि १ प्रतिशतको बीचमा रहेको छ, जुन सरकारको अपेक्षासँग मेल खान्छ । पुटिनका अनुसार, सरकारले र केन्द्रीय बैङ्कले कडाइ गरिएका नीतिहरू लागू गर्दै अर्थतन्त्रलाई सहज रूपमा सञ्चालन गर्न प्रयासरत रहेका छन् ।

“सेप्टेम्बर महिनामा रुसको बेरोजगारी दर २.२ प्रतिशत रहेको छ, जुन ऐतिहासिक रूपमा सबैभन्दा कम दर हो,”उनले जानकारी दिएका छन् ।

राजीनामा दिने तयारीमा मधेशका मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने पक्का भएपछि राजीनामा दिने तयारी गरेका छन् । प्रदेश सभा बैठकमा आफ्ना धारणा राखेर राजीनामा दिने उनको तयारी छ । विश्वासको मत लिनका लागि आज बिहान साढे ८ बजे नै प्रदेश सभा बैठक बोलाइए पनि बैठक बस्नै सकेन । प्रदेश सभा बैठकमा मुख्यमन्त्री नै नगएपछि दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ । प्रदेश सभाको अंकगणित हेर्दा उनले विश्वासका मत नपाउने निश्चित जस्तै छ ।

१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकारको विश्वास कायम राख्न कम्तिमा ५४ मत आवश्यक पर्छ । तर ठूलो दल एमालेसँग सभामुखसहित २५ सांसद मात्र छन्, जसमा एकजना निलम्बित छन् । एमालेको साथमा एक–एक सिटको नेपाल संघीय समाजवादी र राप्रपा छन् ।
पार्टीको नीतिविपरीत प्रदेश सरकारमा सहभागी भएर वन तथा वातावरणमन्त्री बनेकी राप्रपाकी कञ्चन बिच्छाको सांसद पद नै धरापमा छ । उनको सांसद पद खारेज गर्न राप्रपाले आइतबार नै प्रदेश सभा सचिवालयलाई पत्राचार गरिसकेको छ ।
सात दलीय गठबन्धनमा भने ७३ सांसद छन् । अहिलेसम्म गठबन्धनका दल एक ठाउँमा छन् । गठबन्धनमा कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद छन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम सात दलको गठबन्धनबाट गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत नपाउने स्थिति बनेपछि कात्तिक २२ गते प्रदेश सभाबाट राजीनामा घोषणा गरेका थिए । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई कात्तिक २४ गते मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

अस्वस्थ भएर उपचारका लागि काठमाडौं जान्छु भनेर मधेश भवनबाट निस्किएकी भण्डारीले यादवलाई बर्दिवासको एक होटलमा बिहानै कात्तिक २४ गते झिसमिसे बिहानीमा शपथ खुवाएपछि विवाद बढेको थियो । त्यसबाट असन्तुष्ट दलहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा मंसिर १५ गते परमादेश जारी गरेको थियो । सोही अनुसार विश्वासको मत लिन भनेर आज प्रदेश सभा बैठक बोलाइएको छ ।

 

अफ्रिकामा हवाई यात्रु सङ्ख्या २०४४ सम्म वार्षिक ६ प्रतिशतले बढ्नेः बोइङ

सान फ्रान्सिस्को । अफ्रिकाको हवाई यात्रु आवागमन सन् २०४४ सम्म प्रति वर्ष औसत ६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । उक्त वृद्धि मुख्यतः त्यहाँको युवाशक्ति, बढ्दो मध्यम वर्ग, छिटो शहरीकरणका कारण हुने अमेरिकी विमान निर्माता बोइङ (बोइङ) ले जनाएको छ ।

बोइङको सन् २०२५ का लागि तयार गरिएको अफ्रिका क्षेत्रको व्यावसायिक बजार दृष्टिकोण अनुसार, यात्रुको माग पूरा गर्न आगामी २० वर्षमा अफ्रिकाको व्यावसायिक विमान सङ्ख्या दोब्बर हुँदै करिब एक हजार ६८० पुग्नेछ ।

सो अवधिमा करिब एक हजार २०० नयाँ विमान आवश्यक पर्ने अनुमान गरिएको छ, जसमा करिब ७० प्रतिशत एकै प्रकारका विमान रहनेछन् । यी विमानले घरेलु तथा छोटो दूरीका अन्तरराष्ट्रिय उडान विस्तारमा सहयोग पु¥याउनेछन् ।

बोइङका मध्यपूर्व तथा अफ्रिका क्षेत्रका व्यावसायिक बजार निर्देशन प्रमुख शाहाब मातिनका अनुसार,“हवाई यातायात अफ्रिकाको आर्थिक वृद्धि तथा भित्री क्षेत्रीय विस्तारको प्रमुख प्रेरक बनिरहेको छ ।”

अफ्रिकी हवाई सेवा प्रदायकले आफ्नो उडान विस्तार गर्दै जाँदा जनशक्ति तथा हवाई पूर्वाधारमा ठूलो लगानीको आवश्यकता पर्ने बोइङले जनाएको छ । आगामी २० वर्षमा अफ्रिकामा करिब ७४ हजार नयाँ पाइलट, प्राविधिक तथा केबिन कर्मचारी आवश्यक पर्ने अनुमान छ ।

यसैगरी, विमान बेडा वृद्धि र सञ्चालन क्षमता सुनिश्चित गर्न करिब एक सय ३० अर्ब अमेरिकी डलरबराबरको सेवा माग पनि रहने बोइङले बताएको छ ।

हरेक फ्लाइट-‘माउन्टेन फ्लाइट’: आकाशमै हिमालसँग मौन संवाद!

काठमाडौँ । नेपालमा हवाई यात्रा केवल गन्तव्य पुग्ने साधन होइन- यो आफूमा एउटा अनुभव, एउटा दर्शन, र हिमालसँग सानिध्य संवादसहितको नियात्रा हो ।

संसारका धेरै देशहरूमा हवाई जहाज उड्नु सामान्य दैनिक प्रक्रिया होस तर नेपालमा उड्ने प्रत्येक फ्लाइट, चाहे त्यो काठमाडौं–पोखरा होस्, जनकपुर–काठमाडौं होस्, धनगढी, विराटनगर वा नेपालगन्ज-मुगु नै किन नहोस्, यात्रुको हृदयमा एउटै भाव धड्किन्छ – “यो त माउन्टेन फ्लाइट नै रहेछ ।”

नेपालजस्तो अनुपम भू–भाग, जहाँ ८ हजार मिटरभन्दा अग्ला १४ शिखर गर्वका साथ उभिएका छन्, जहाँ संसारको शिरजस्तै सगरमाथाले आकाश समातेको देखिन्छ। त्यही देशको आकाशमा उड्ने प्रत्येक जहाज यात्रुका लागि एक चलायमान दर्शक मञ्च बन्छ ।

विमानका झ्यालहरू हिमाल अवलोकनका लागि बनेको कुनै सिनेमा हलका झ्यालझैँ लाग्छन्- पर्दा बदलिँदै जान्छ, दृश्य फेरिँदै जान्छ, तर दन्त लहर फैलाएर मुस्कुराइरहेको हिमालको आकर्षण सकिँदैन । प्रत्येक झ्यालबाट देखिने दृश्यले आफ्नै भाषामा जिस्काउँछन् र यात्रुको मनमा अनन्त स्मृतिको छाप छाड्छन् ।

नेपालको हवाई इतिहास पनि उस्तै रोचक छ । चार सिटे बोनान्जा बिच एयरक्राफ्ट, २४ सिटे डकोटा, भारतीय नेसनल एयरवेज र हिमालयन एभिएसन लिमिटेड हुँदै नेपाल वायुसेवा निगमसम्म आइपुग्दा नेपालको व्यावसायिक हवाईयात्रा तरुणवयमा छ । उडानका रहर, उचाइका चुनौती र देशको भूगोलका कारण नेपालको आकाश, उचाइ र नियमन अन्य मुलुकजस्तो सहज भने पक्कै छैन । यो आफैंमा एक साहसिक यात्रा भन्दा पनि अस्वकाविक हुँदैन ।

नेपालका हवाई मार्ग चार प्रकारका मानिन्छन्( कन्ट्रोल रुट, अन–कन्ट्रोल रुट, एडभाइजरी रुट र टर्मिनल रुट । ११, ५०० फिटभन्दा माथिको अवस्थामा कन्ट्रोल रुट, अनकन्ट्रोल रुटमा पाइलट आफ्नै भिजुअल फ्लाइट रुलमा निर्भर, एडभाइजरी रुटमा केही स्थानमा एटीसी सहायता र केही स्थानमा पाइलटको विवेक अनि उडान सुरु वा अवतरण चरणमा टर्मिनल रुट सक्रिय हुन्छ ।

तराईमा निश्चित रुट, पहाडमा पाइलटले आफैं बाटो बनाउनु- संसारमै दुर्लभ अभ्यास हो । उडान सहजताका लागि रुटहरुको पनि नामाकरण गरिएको छ । जसमा काठमाडौंबाट पोखरा, दाङ, नेपालगन्जतिर उडदा ह्विस्की ४१, भरतपुर–दाङमा ह्विस्की १७, भैरहवा–दाङमा ह्विस्की १९ जस्ता मार्गहरु तय गरिएका छन् । यात्रुका लागि यी नाम केवल ‘रुट’ हुन्स पाइलटका लागि भने यी रुट उचाइ र भौगोलिक चुनौतीसहित बाँचिने अनुभव हुन् ।

इन्स्ट्रुमेन्ट फ्लाइट रुलमा उड्दा १५,००० देखि २९,००० फिटबीच उड्नुपर्छ भने, पूर्वतर्फ उड्दा अड थाउजन्ड (१५, १७, १९ हजार फिट), पश्चिमतर्फ इभेन थाउजन्ड (१६, १८, २० हजार फिट) र भिएफआरमा २०,००० फिटसम्म उडान भर्ने गर्दछन् । उडान बीच एक हजार फिटको अनिवार्य आकाशे दूरी आवश्यक पर्छ । र सबैभन्दा रोचक, नेपालमा माउन्टेन फ्लाइट आईएफआरमा २५,००० फिट र भिएफआरमा २४,००० फिटभन्दा माथि उडाउन पाइँदैन ।

यात्रुका लागि भने यी सबै केवल प्राविधिक विषय हुन् । प्रविधिले कोल्टे फेरिरहँनदा नेपालमा विशेषगरी १९६० को दशकपछि अन्तर्राष्ट्रिय आरोहीहरूको आगमन वृद्धि हुन थाल्यो र हिमालको सौन्दर्य विश्व पर्यटनको केन्द्र बन्दै गयो । आज २०२५ मा, नेपाल आउने पर्यटकको आकर्षण सूचीमा ‘माउन्टेन फ्लाइट’ शीर्ष पाँच आकर्षणमध्ये पर्छ ।

एयरलाइन्सको तथ्यांक अनुसार, सगरमाथाको दृश्यावलोकनका लागि मात्र हरेक वर्ष २५–३० हजारले यात्रा गर्छन् । तर, मुलुकको अद्‌भूत सुन्दरता- नेपालका आन्तरिक यात्रुहरू प्रत्येक दिन, प्रत्येक फ्लाइटमा जानी-नजानी ‘माउन्टेन फ्लाइट’ नै गरिरहेका हुन्छन् ।

काठमाडौंबाट उडान सुरु भएसँगै देखिने गणेश हिमाल, लाङ्टाङ हिमशृङ्खला, पोखरा जाने क्रममा मुस्कानसहित उभिएको माछापुच्छ्रे, स्वागतका लागि उभिएझैँ देखिने अन्नपूर्ण, कञ्‍चन धौलागिरी, नेपालगन्ज वा सुर्खेत र धनगढीसम्मको उडानमा देखिने कान्जिरोवा साईपाल र अपिको मौन चमक- जसले यात्रालाई हिमालय पर्वतको दर्शनका लागि निस्किएको भक्तजस्तै महसुस गराउँछन् । यात्रुले टेबल ट्रे खोल्न नपाउँदै स्वर्गको ढोका उघारिएझैँ भव्य हिमश्रृङ्खलाहरू खुल्छन् ।

पाइलटहरुले आफ्नो अनुभूति साझा गर्दै भन्छन् – नेपालका हरेक उडान प्रकृतिसँगको भेटघाट हो । काठमाडौँबाट पोखरा जाँदै गर्दा माछापुच्छ्रेले जति पटक नयाँ रूप देखाउँछ, त्यति पटक यात्रुले ‘वाह’ भन्छन् । त्यो ‘वाह’ नै हाम्रो देशको ब्रान्ड हो । पहिलो पटक उड्ने बालकका लागि त्यो ‘हिमाल १’ भनेर चिच्याउने क्षण बन्छ भने घर फर्कँदै गर्ने महिलाका लागि त्यो आफन्तको सम्झना अनि ‘एभरेस्ट’ हेर्न निःशब्द बनेका विदेशी यात्रुका लागि त्यो जीवनकै चमत्कार बनिदिन्छ । सामान्यतया नेपालको आन्तरिक उडानहरुमा देखिने दृश्य- सुटुक्क मिलेकाजस्ता बादलहरू, जमिनबाट उठेर आकाश चुम्न अग्लिँदै गरेका हिमालहरू र हिमालसँग पीरती साट्न ओर्लिरहेको देखिने क्षितिज बीचको संवादले जिउ चंगा बनाउँछ । यात्रुहरूले कहिलेकाहीँ भन्छन्- नेपालमा जहाज चढ्नु भनेको ३० मिनेटको ‘हिमालय डकुमेन्ट्री’ हेर्ने जस्तै हो ।

विशेषगरी प्रातःकालीन उडानहरू- जेठको घाम चहकिलो हुँदा, मंसिर–पौषको चिसो पारदर्शी आकाशमा, फागुन–चैतको गुलाबी बादलको छेउबाट उड्दा- हिमालहरुले आफैँलाई नजिक्याएको जस्तो लाग्छ ।

अन्‍नपूर्णलाई चुमेर आएको लेकाली हावाले बादललाई जिस्काउँदै गरेको दृश्य देखेर यात्रुहरू हर्षित मुद्रामा तस्बिर खिच्दै, चियर्स गर्दै, आकाशसँग गफिदैं गरेका देखिन्छन् । हातमा क्यामेरा, मनमा उत्साह- यो दृश्यका कारण नै पोखरा उडानलाई पर्यटकले विश्‍वकै उत्कृष्ट दृश्यावलोकन फ्लाइटको रुपमा चर्चा गर्ने गर्दछन् ।

नेपालको आन्तरिक उडानहरुबाट केवल हिमाल मात्र हेर्ने होइन सँगै नदीहरूले इतिहास र सभ्यताका कथा बोकेर अविरल बगिरहेका देखिन्छन् । बाजुरा–डोल्पोतर्फ उड्दा सेती, कर्णाली र भेरी सुनौलो डोरीजस्तै चम्किन्छन् । हरियालीले ढाकेका पहाड, थुम्कोजस्तै देखिने बस्ती, टुक्रिएको मोतीजस्तै चम्किने तालहरुले यात्रुलाई जहाजको झ्यालबाट देख्ने ‘दृश्य कविता’को झल्को दिन्छ ।

नेपाली उडानहरूको अर्को विशेषता- हरेक उडानले सयौं कथाहरु बोकेका हुन्छन् । कुनै फ्लाइटले घर छोडेर परदेशिने युवाको कथा बोकेका हुन्छन् भने कुनैले पूरा गरेका सपनाको सन्दुक बोकेर घर फर्किरहेका हुन्छन् । कुनैमा उमेर ढल्किँदै गरेकी बुढी आमा हुन्छन् भने कुनैमा साहसिक पर्यटकहरू, कुनैमा सरकारी अधिकारी, कुनैमा पत्रकारहरू, केहीमा त पहिलोपटक विमान चढ्ने बालबालिका जो झ्यालबाट हिमाल देखेपछि चिच्याउँदै भन्छन्- “ए आमा, हिमाल १”

केही यात्रुका लागि आकाशमा देखिने हिमालहरू घरको सम्झनाजस्तै हुन्छन् । कतिपयले पहिलोपटक सगरमाथा देख्दा भावुक हुन्छन् – यो केवल हिमालको सौन्दर्य होइन, मान्छेको मनमा अमिट छाप बनाएको नेपालको पहिचान हो । नेपाली उडान- जहाँ आकाश, बादल र हिमालय मिलेर यात्रुको निजी सिनेमा बनाउँछन् ।

नेपालको हरेक फ्लाइट, चाहे सेड्युल फ्लाइट होस् वा निर्धारित माउन्टेन फ्लाइट, दुवै विश्‍वव्यापी पर्यटक आकर्षणका लागि कुरिरहेको देखिन्छन् । नेपालमा हवाई यात्रा गर्नु भनेको आकाश र हिमालबीच लेखिएको एउटा जीवित कविता पढ्नु हो । यात्रुहरू भन्छन्—“म त गन्तव्य पुग्न भनेर चढेको, तर हिमाल देखेर मोहित भएँ ।”

नेपालका अधिकांश विमानस्थलहरू स्वयंमा नै ‘हिमालय भ्युपोइन्ट’ जस्तै छन् । लुक्ला, नाम्चे, मनाङ, जुम्ला, सिमकोट, पोखरा आदि । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा झर्ने हरेक यात्रुलाई माछापुच्छ्रेले स्वागत गरिरहेको देखिन्छ । यही कारण, नेपालमा भित्रिने हरेक यात्रुको सामूहिक अनुभव हुन्छ- “नेपालमा हरेक फ्लाइट माउन्टेन फ्लाइट नै हो ।” उडान छोटो होला, समय कम होला, यात्रुको उद्देश्य फरक–फरक होला- तर हिमालको उपस्थितिले सबै फ्लाइटलाई एउटै मालामा उनिदिन्छस भव्यता, श्रद्धा, सौन्दर्य र स्मृतिको चहकिलो माला ।

नेपालको आकाशका हरेक उडानले एउटा महाकाव्य तयार हुन्छ । विमानका प्रत्येक झ्यालबाट अद्वितिय चित्रकलाको झल्को दिन्छ, प्रत्येक दृश्य जीवनभरका लागि सम्झनाको मोती बन्छ । यही कारण आज, भोलि र सदैव-नेपालमा जहाँ–जहाँ जहाज उड्छ, त्यहाँ–त्यहाँ यात्रुहरू मुस्कुराउँदै भन्छन्- “एस् एभ्री फ्लाइट इज् अ माउन्टेन फ्लाइट ।“

(लेखक कार्की नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट हुन् ।)

एमडिजिपी स्वास्थ्य प्रणालीका मेरुदण्ड

काठमाडौँ । नेपाली समाजमा डाक्टर भन्नेबित्तिकै कि त ‘एमबिबिएस’ को सामान्य चिकित्सक कि त मुटु, पेट, स्नायु वा मिर्गौलाजस्ता निश्चित अङ्गको उपचार गर्ने ‘विशेषज्ञ’ भन्ने बुझाइ रहेको छ । तर, नेपालको विषम भौगोलिक बनोट र सीमित स्वास्थ्य पूर्वाधारका लागि यी दुई विधाको बीचमा एउटा यस्तो अत्यन्त महत्वपूर्ण र बहुमुखी विधा छ, जसलाई नेपालको स्वास्थ्य प्रणालीको ‘मेरुदण्ड’ मानिन्छ–त्यो हो एमडिजिपीअर्थात् ‘जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन’ मा विशेषज्ञता ।

नेपालको सुदूर पहाडी जिल्ला अस्पतालहरूको सङ्कटकालीन वार्डदेखि काठमाडौँका व्यस्त कर्पोरेट अस्पतालहरूको आकस्मिक विभागसम्म, एमडिजिपी डाक्टरहरूले नेपाली स्वास्थ्य सेवाको मुहार फेरिरहेका छन् । उनीहरूको भूमिका, क्षमता र नेपालले बेहोरिरहेका स्वास्थ्य चुनौतीहरूमाथिको प्रभावका बारेमा धेरै चर्चा हुने गरेको पाइँदैन ।

एमडिजिपीलाई धेरैले केबल ‘जनरल फिजिसियन’ वा ‘सामान्य चिकित्सक’को रूपमा बुझ्ने गर्छन्, तर यो बुझाइ पूर्णतया अपूर्ण छ । एमडिजिपी एउटा पूर्णकालीन तीन वर्षे स्नातकोत्तर (पिजी) विशेषज्ञता हो । यो विशेषज्ञताले चिकित्सकलाई आधारभूत चिकित्सा र शल्यक्रियाका विभिन्न विधामा सघन तालिम दिन्छ । एमडिजिपीलाई चिकित्सा क्षेत्रमा ‘स्विस आर्मी नाइफ’ पनि भनिन्छ । जसरी स्विस आर्मी नाइफमा अनेकन औजारहरू एकीकृत हुन्छन्, त्यसरी नै एक एमडिजिपी डाक्टरले एकैसाथ बालरोग, स्त्रीरोग (प्रसूतिसहित), हाडजोर्नी (अर्थोपेडिक्स), सामान्य शल्यक्रिया (जनरल सर्जरी) र सबैभन्दा महत्वपूर्ण रूपमा आकस्मिक चिकित्साको जिम्मेवारी सम्हाल्न सक्छन् । उनीहरूले बच्चाको भ्याक्सिनदेखि गर्भवतीको जटिल शल्यक्रिया (सिजरियन सेक्सन), भाँचिएको हाडको प्लास्टर र हृदयाघात वा गम्भीर दुर्घटनाको प्रारम्भिक जीवनरक्षक उपचारसम्म गर्नसक्ने क्षमता राख्छन् । यो बहुआयामिक क्षमता नै नेपालको ग्रामीण स्वास्थ्य सेवाका लागि अपरिवर्तनीय बनेको छ ।

क) ग्रामीण नेपालमाः ‘एक डाक्टर, अनेक अस्पताल’

नेपालका करिब ६० प्रतिशत जनसङ्ख्या बसोबास गर्ने दुर्गम पहाडी भूभागमा स्वास्थ्य सेवाको पहुँच गम्भीर चुनौतीका रूपमा रहेको छ । मुटु, मस्तिष्क वा बालरोग विशेषज्ञहरू ती ठाउँमा पुग्न सम्भव छैन । यही शून्यपनलाई एमडिजिपी डाक्टरहरूले ‘फ्रन्टलाइन कमान्डर’ बनेर भरिरहेका छन् ।

जीवन बचाउने शल्यक्रिया र प्रसूति सेवा

डोल्पा, अछाम, ताप्लेजुङ, मनाङ वा दार्चुलाजस्ता भौगोलिक रूपमा विकट जिल्ला अस्पतालहरूमा जब बिरामीलाई जीवन–मरणको सङ्कट आइपर्छ, तत्काल काठमाडौँ वा ठूला सहरमा पठाउन घण्टौँ वा दिनौँ लाग्न सक्छ । उदाहरणका लागि, गर्भवती महिलाको पाठेघरमा बच्चा अड्किँदा वा आन्द्रा फुट्दा ९परफोरेटेड एपेन्डिक्स०, केही मिनेटको ढिलाइले पनि बिरामीको ज्यान जान सक्छ । यस्तो सङ्कटकालीन घडीमा एमडिजिपी डाक्टरले नै तत्काल अपरेसन गरेर बिरामी बचाउँछन् । सिजरियन सेक्सनमा शल्यक्रिया गरेर आमा र बच्चा दुबैको जीवन बचाउँछन् । उनीहरूले उपलब्ध सीमित स्रोत र उपकरणका बाबजुद पनि ‘सर्जरी’ र ‘प्रसूति’ सेवा दिएर ग्रामीण अस्पताललाई ‘रिफर सेन्टर’ बाट ‘उपचार केन्द्र’ मा रूपान्तरण गरेका छन् ।

कुशल व्यवस्थापकीय नेतृत्व

एमडिजिपी डाक्टरहरू केबल उपचारकर्ता मात्र होइनन्, ग्रामीण जिल्ला अस्पतालहरूमा प्रायः उनीहरू नै अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट ९मेसु० पनि हुन्छन् । उनीहरूले सीमित बजेट र जनशक्तिका बीच अस्पतालको व्यवस्थापन गर्ने, स्वास्थ्यकर्मीहरूलाई नेतृत्व दिने, आधारभूत ल्याब र औषधिहरू उपलब्ध गराउने र ठूला स्वास्थ्य शिविरहरू आयोजना गर्ने जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका हुन्छन् । उनीहरूको नेतृत्व क्षमताले नै दुर्गमका स्वास्थ्य संस्थालाई चलायमान बनाइराखेको हुन्छ ।

विवेकपूर्ण ‘रिफरल’ प्रणाली

एमडिजिपी डाक्टरहरूको व्यापक ज्ञानले गर्दा उनीहरूले बिरामीलाई ‘ट्राइज’ गर्न सक्छन् । उनीहरूले कुन बिरामीको उपचार गाउँमै सम्भव छ र कसलाई मात्र सहर पठाउनु अनिवार्य छ भन्ने निर्णय क्षमता राख्छन् । यसले गर्दा अनावश्यक रुपमा अन्य अस्पतालहरुमा पठाइने बिरामीहरुको सङ्ख्या कम हुन्छ, जसले बिरामीको लाखौँ रुपैयाँ र समयको बचत गर्नुका साथै ठूला सहरी अस्पतालहरूको अनावश्यक बोझ पनि घटाउँछ ।

ख) सहरी क्षेत्रः ’फ्यामिली डाक्टर’ को उदय

सहरका ठूला अस्पतालहरूमा विशेषज्ञहरूको भीड भए पनि एमडिजिपी डाक्टरको भूमिका त्यहाँ पनि उत्तिकै महत्वपूर्ण रहेको छ तर निम्न बुँदाहरुको आधारमा त्यस भूमिकालाई फरक ढङ्गले पनि हेर्न सकिन्छः

होलिस्टिक केयरको पैरवी

आजको सहरी जीवनशैलीमा हुर्किएका अधिकांश बिरामीहरू सामान्य लक्षणका लागि पनि विशिष्ट विशेषज्ञ कहाँ धाउँदा हैरान हुने गर्छन् । टाउको दुख्दा न्युरोलोजिस्ट, पेट दुख्दा ग्यास्ट्रोलोजिस्ट र छालाको समस्याका लागि डर्माटोलोजिस्ट कहाँ जानुपर्ने बाध्यता छ । एमडिजिपी डाक्टरहरूले यसको साटो बिरामीको समग्र स्वास्थ्य जाँच गर्छन् । उनीहरूले बिरामीको शारीरिक समस्या मात्र होइन, मानसिक स्वास्थ्य, जीवनशैली, पारिवारिक इतिहास र सामाजिक अवस्थालाई पनि बुझेर उपचारको योजना बनाउँछन् । यसले गर्दा सही विशेषज्ञ कहाँ जाने भन्ने अलमल हट्छ र निरन्तर र व्यापक स्वास्थ्य सेवा सुनिश्चित हुन्छ । यसरी उनीहरूले पहिलो सम्पर्क विन्दुका रूपमा कार्य गरेका हुन्छन् ।

इमर्जेन्सी विभागका कमान्डर

काठमाडौँ, पोखरा वा विराटनगरका अधिकांश ठूला अस्पतालका आकस्मिक विभागको नेतृत्व एमडिजिपी डाक्टरहरूले नै गरिरहेका छन् । दुर्घटना, हृदयघात, स्ट्रोक, वा अन्य आकस्मिक अवस्थाका बिरामीहरू आउँदा उनीहरूले नै तुरुन्तै बिरामीको अवस्था आँकलन गरी ‘ट्राइज’ गर्छन्–अर्थात् कसलाई पहिला उपचार गर्ने र कुन विशेषज्ञलाई बोलाउने भनेर तत्काल निर्णय गर्छन् । उनीहरूको तीव्र निर्णय क्षमता र बहुआयामिक सीप आकस्मिक सेवाको जीवनरेखा हो ।

दीर्घ रोग व्यवस्थापन

उच्च रक्तचाप, मधुमेह, थाइराइडजस्ता दीर्घकालीन रोगहरूको नियमित ‘फलोअप’ र जीवनशैली परामर्शका लागि एमडिजिपी डाक्टरहरू सबैभन्दा उपयुक्त मानिन्छन् । उनीहरूले बिरामीसँग दीर्घकालीन सम्बन्ध स्थापित गरी रोगलाई नियन्त्रणमा राख्न र जटिलताहरू आउन नदिन मद्दत गर्छन् ।

भविष्यको मार्गचित्र

एमडिजिपी डाक्टरहरूको यति धेरै महत्व हुँदाहुँदै पनि नेपालमा उनीहरूले उचित पहिचान र प्रोत्साहन पाउन सकेका छैनन् । यस विधाका डाक्टरहरूले सामना गरिरहेका केही मुख्य चुनौतीहरू यस प्रकार छन् :

सरकारी दरबन्दीको कमी : सरकारले जिल्ला अस्पतालहरूमा एमडिजिपी डाक्टरहरूको आवश्यक सङख्यामा स्थायी दरबन्दी सिर्जना गर्न सकेको छैन ।

प्रोत्साहनको अभाव : दुर्गममा काम गर्ने एमडिजिपीहरूलाई पर्याप्त आर्थिक सुविधा, आवास, र करियर विकासको अवसर नहुँदा उनीहरू सहरी क्षेत्रमा वा विदेश पलायन भइरहेका छन् ।

जनमानसमा गलत बुझाइ : विशेषज्ञको रूपमा स्पष्ट पहिचान नहुँदा बिरामीहरूले पनि उनीहरूको क्षमतालाई कम आँक्ने गरेको अवस्था अझै पनि छ ।

यसमा निक साइमन्स इन्स्टिच्युट जस्ता संस्थाहरूले ग्रामीण क्षेत्रमा एमडिजिपी डाक्टरहरूलाई पठाउन प्रोत्साहन कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् तर यो दीर्घकालीन समाधान होइन । राज्यले अब एमडिजिपीलाई प्राथमिकता प्राप्त विशेषज्ञ मानेर तत्कालै कदम चाल्नुपर्छ । प्रत्येक जिल्ला अस्पतालमा अनिवार्य एमडिजिपीको दरबन्दीः कम्तीमा दुईदेखि तीन जना एमडिजिपी विशेषज्ञहरूको स्थायी पद सिर्जना गरिनुपर्छ । दुर्गम भत्ता र विशेष प्रोत्साहन प्याकेज ल्याएर दुर्गममा काम गर्न आकर्षक तलब, सुविधा र शैक्षिक अवसरहरू प्रदान गर्नुपर्छ । ‘फ्यामिली मेडिसिन’ को रूपमा विकास गरी सहरी क्षेत्रमा ‘फ्यामिली डाक्टर’को अवधारणालाई स्थापित गर्नुपर्छ, जसले एमडिजिपीहरूको पहिचानलाई अझ बलियो बनाउन आवश्यक छ ।

निष्कर्ष

नेपालको विकट भौगोलिक वास्तविकतालाई हेर्दा हामीलाई हरेक विधाका ‘माइक्रो-स्पेसलिस्ट’ भन्दा पनि सबै विधाको आधारभूत ज्ञान, शल्यक्रियाको सीप र आकस्मिक सेवाको क्षमता भएका एमडिजिपी डाक्टरहरूको खाँचो बढी छ । जबसम्म गाउँको स्वास्थ्य चौकीलाई केबल रिफर गर्ने ठाउँबाट जीवन बचाउन सक्ने ‘उपचार केन्द्र’ मा बदल्न सकिँदैन, तबसम्म लाखौँ नेपाली गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित भइरहनेछन् । यो दूरदृष्टिलाई साकार पार्नका लागि एमडिजिपी विशेषज्ञहरूको भूमिकालाई राज्यले उच्च सम्मान र कदर गर्नैपर्छ । उनीहरूलाई प्रोत्साहन दिएर नेपालको स्वास्थ्य सेवालाई बलियो र समावेशी बनाउनु आजको तत्कालको आवश्यकता हो ।

(लेखक जेनरल प्राक्टिस ऐन्ड इमेर्जेन्सी मेडिसिन एसोसिएसन नेपालका अध्यक्ष हुनुहुन्छ)

बजेट रोकिँदा कतिपय योजनाहरु अघि बढ्न सकेनन् : सचिव राउत

काठमाडौं । चालु आर्थिक वर्षका लागि घोषित धेरै कार्यक्रम बजेट रोक्का र प्रशासनिक अस्थिरताका कारण अघि बढ्न नसकेको वाणिज्य सचिव कृष्णबहादुर राउतले बताएका छन् । नेपाल उद्योग परिसंघद्वारा आयोजित ‘बजेट वाच’ कार्यक्रममा बोल्दै सचिव राउतले नीतिगत कामभन्दा बढी सानातिना कार्यक्रमहरुमा बजेट रोकिएको हुँदा समग्र नीतिगत कार्यान्वयनमा गम्भीर असर नपरे पनि धेरै काम समयमै अघि बढ्न नसकेको बताए ।

उनका अनुसार जेन–जी आन्दोलनपछि सिर्जित राजनीतिक दबाब, समयमै काम अघि नबढ्न सक्नु र विभिन्न निकायबीच आवश्यक समन्वय नहुनु पनि बजेट कार्यान्वयन सुस्त हुनुका प्रमुख कारण बने । दोस्रो त्रैमासदेखि भने कार्यान्वयनले गति लिने अपेक्षा उनले व्यक्त गरे ।नेपाल उद्योग परिसंघले सार्वजनिक गरेको प्रतिवेदनले पनि पहिलो त्रैमासमा अत्यन्त न्यून प्रगति भएको निष्कर्ष निकालेको छ । ७४ बुँदामध्ये ५१.४ प्रतिशतमा शून्य प्रगति, ४५.९ प्रतिशतमा आंशिक प्रगति र मात्र २.७ प्रतिशतमा पूर्ण कार्यान्वयन भएको प्रतिवेदनले उल्लेख गर्छ । संघका अनुसार नयाँ सरकारका फरक प्राथमिकता, राजनीतिक उतार–चढाव, प्रशासनिक अस्थिरता र खुद्रा तथा कम प्राथमिकताका योजनामा गरिएको बजेट कटौतीले प्रत्यक्ष असर पारेको हो ।

प्रतिवेदनमा समेटिएका उद्योग, ऊर्जा, पूर्वाधार, पर्यटन, लगानी तथा वित्त, कृषि, सूचना प्रविधि र शिक्षा–रोजगारसम्बन्धी कार्यक्रम सबै क्षेत्र सुस्त रूपमा अघि बढेको उल्लेख छ । कानुनी सुधारतर्फ कम्पनी विधेयक २०८२ आंशिक रूपमा मात्र अघि बढेको छ भने एकद्वार सेवा, डिजिटल कम्पनी दर्ता, बैंकमा स्वचालित खाता खोल्ने व्यवस्था जस्ता घोषणाहरू शून्य प्रगतिमा सीमित छन् । औद्योगिक क्षेत्रका भाडादर समायोजनसम्बन्धी घोषणा पनि आंशिक प्रगति मात्र देखिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भाडा नघटाउँदा विवाद कायम रहेको प्रतिवेदनमा उल्लेख छ ।

चितवन र मकवानपुर औद्योगिक क्षेत्रमा प्रारम्भिक डीपीआर तथा पीपीपी मोडेलका तयारी मात्र भएको छ । उद्योग, कृषि र हाउसिङका लागि अतिरिक्त जग्गा खरीद विधेयक संसद विघटनपछि रोकिएको हुँदा त्यसमा पनि कुनै प्रगति हुन सकेको छैन । प्रत्यक्ष वैदेशिक लगानी स्वीकृतिमा अटोमेटिक रुट सम्बन्धी काम केही अघि बढे पनि विदेशी लगानी, स्वेट इक्विटी व्यवस्था, ‘मेक इन नेपाल’ प्रवद्र्धन, खानी तथा खनिज अन्वेषण, भारतसँग डाटा आदान–प्रदान, कर कानून पुनरावलोकन, उद्योगका लागि विद्युत दर छुट जस्ता विषयहरूमा शून्य वा आंशिक प्रगति मात्र देखिएको छ ।

इन्धनमा इथानोल मिश्रणसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्मा पुगेपछि आंशिक प्रगति भएको भए पनि अन्य धेरै काम कागजमै सीमित रहेको प्रतिवेदनको निष्कर्ष छ। तीन महिनामा पूर्ण रूपमा पूरा भएकामा ‘अधिकारिक आर्थिक सञ्चालक’ कार्यक्रम मात्रै रहेको संघले जनाएको छ। कार्यक्रममा उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रबहादुर पाण्डेले आर्थिक समृद्धिका लागि औद्योगिक विकास अपरिहार्य भएको उल्लेख गर्दै बजेटमा उल्लेखित औद्योगिक सम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । स्वदेशी उद्योगलाई संरक्षण, नीति स्थिरता र उत्पादनमूलक उद्योग प्रवद्र्धन गर्ने हो भने नेपाल छिटो आर्थिक उचाइमा पुग्न सक्ने उनको भनाइ छ । पाण्डेको अनुसार स्वदेशी उत्पादन बढाउन नसकिए आत्मनिर्भर अर्थतन्त्र सम्भव हुँदैन, त्यसैले चलिरहेको बजेटको प्रभावकारी कार्यान्वयन र आगामी बजेटले स्पष्ट लक्ष्यसहित उद्योगमैत्री वातावरण निर्माण गर्नुपर्छ ।

प्रतिनिधि सभा विघटनविरूद्ध एमालेको रिटमा आजदेखि सुनुवाइ

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा एमालेले दायर गरेको रिट आज (बुधबार) संवैधानिक इजलासमा सुनुवाइका लागि पेशीमा परेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको इजलासमा मुद्दा सुनुवाइ हुने कार्यक्रम छ।

विघटित प्रतिनिधि सभामा एमालेका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले मंसिर १० गते दायर गरेको रिट आज दिनको अन्तिम सुनुवाइको क्रममा राखिएको छ। क्रम संख्या ‘छ’ मा परेकोले अन्य सबै मुद्दा टुंगिएपछि मात्र यसमा बहस सुरु हुनेछ। एमालेले रिटमार्फत सुशीला कार्कीको प्रधानमन्त्री नियुक्ति नै असंवैधानिक भएको दाबी गरेको छ । संविधानको धारा ७६ र १३२ (२) अनुसार प्रतिनिधि सभा सदस्य नभएको तथा सर्वोच्च अदालतको पूर्व प्रधानन्यायाधीश रहेको व्यक्तिलाई प्रधानमन्त्री बन्न रोकिएको तर्क रिटमा उल्लेख छ। कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिको भदौ २७ गतेको निर्णय, शपथ ग्रहण तथा त्यसपछिका सबै नियुक्ति र कार्यहरू बदर गर्न माग गरिएको छ।

रिटमा अहिलेको सरकारले गरेका सम्पूर्ण निर्णय, कार्यविधि र नियुक्तिहरू कानुनी आधारविहीन ठहरिने दाबी गर्दै एमालेले ‘गैरकानुनी सरकार’का नाताले सबै कार्य शून्य हुने माग राखेको छ। साथै प्रधानमन्त्री कार्कीको निर्णयमा भएको प्रतिनिधि सभा विघटनलाई उल्ट्याई तत्काल संसद पुनर्स्थापना गर्न आदेश जारी गराउन आग्रह गरिएको छ।

‘भदौ २४ गतेपछि भएको समयलाई शून्य अवधि घोषित गरी प्रतिनिधि सभा पुनर्स्थापना गरियोस् र सो दिन कायम रहेका राज्यका सबै अंगहरू पूर्ववत् रूपमा सञ्चालनमा रहून्,’ रिटमा उल्लेख छ । त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलमार्फत संविधानको धारा ७६ अनुसार नयाँ सरकार गठनका लागि परमादेश जारी गर्न तथा प्रतिनिधि सभा पुनर्स्थापना भएपछि बैठक बोलाउन सभामुख र संसद सचिवालयका नाममा पनि आदेश दिन माग गरिएको छ।

मधेशकी राप्रपा सांसद कञ्चन बिच्छा पदमुक्त

काठमाडौं । पार्टी निर्णय विपरीत एमाले सरकारमा मन्त्री बनेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेशकी सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन् । राप्रपाको सिफारिसमा उनलाई बर्खास्त गरिएको हो । यो सँगै उनको मन्त्री र सांसदको पद पनि गएको छ । कार्य परामर्श समितिमा भएको सहमति अनुसार बुधबार (आज) मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने भएकोले भोलि मात्रै पदमुक्तको सूचना टाँस गरिने छ ।

हाउस कल भएको दिन पदमुक्त गर्न नमिल्ने भएकोले बिहीबार सांसद बिच्छा बर्खास्त हुने सहभागी एक सदस्यले जानकारी दिएकाछन् । बिच्छा कात्तिक २४ मा सरोजकुमार यादव नेतृत्वको सरकारमा वनमन्त्री बनेकी थिइन् । पार्टीले उनलाई फिर्ता हुन् भने पनि अटेर गरेपछि उनलाई स्पष्टीकरण सोधिएको थियो । जवाफ समेत नफर्काएपछि पार्टीले उनलाई साधारण सदस्य समेत नरहने गरी सांसदबाट फिर्ता बोलाउन सिफरिस गरेको थियो ।

सुनचाँदीको मूल्य निरन्तर अकासिदो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारमा सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५४ हजार १०० कायम भएको छ । आज चाँदीको मोल रु ११० ले बढेर तोलामा रु तीन हजार ६५५ निर्धारण भएको छ ।

मङ्गलबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार ३०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ५४५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन चार हजार २२६ र त्यति नै परिमाणको चाँदी ५९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।

मुख्यमन्त्री नै अनुपस्थित, सर्‍यो मधेश प्रदेशसभा बैठक

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक तोकिएको भन्दा २ घण्टा ढिला सुरु भए लगतै सारिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले २ बजे मात्र विश्वासको मत लिने अडान राखेपछि बैठक सारिएको हो । प्रदेश सभा सचिवालयले विश्वासको मत लिन बुधबार बिहान साढे ८ बजेका लागि बैठक बोलाएको थियो । ढिलो गरी बैठक सुरु गरे पनि मुख्यमन्त्री यादवसहित एमाले सांसदहरू बैठकमा उपस्थित नभएपछि बैठक उपसभामुख बबिता कुमारी राउत ईशरले दिउँसो २ बजेसम्मका लागि स्थगित गरेकी हुन् ।

तर, करिब साढे १० बजेसम्म मुख्यमन्त्री सरोजकुमार यादव प्रदेश सभामा आएका छैनन् । विपक्षी दलका प्रदेश सांसदहरू बिहानै ८ः३० बजे आएर प्रदेश सभामा कुरिरहेका छन् । नेकपा एमालेका समेत केही प्रदेश सांसदहरू आइसकेका छन् ।
मुख्यमन्त्री यादवले दिउँसो २ बजे विश्वासको मत लिने वातावरण बनाइदिन प्रदेश सभा सचिवालयलाई पत्र पठाएका थिए । तर हिजो साँझ बसेको सर्वदलीय बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूले आज बिहान ८ः३० बजे प्रदेश सभा बैठक राख्ने सहमति गरेका थिए । तर मुख्यमन्त्री यादवले विगतमा पनि विश्वासको मत लिन मुख्यमन्त्रीहरूले आग्रह गरेअनुसार समय निर्धारण गरेपनि विपक्षी दलहरूको उक्साहटमा उपसभामुखले बिहान साढे आठ बजे नै समय तोकेको गुनासो गरे ।

‘विगतमा पनि मुख्यमन्त्रीहरूले विश्वासको मत लिन पठाएको पत्र अनुसार समय निर्धारण गरिएको थियो। तर मैले पठाएको पत्र अनुसार नगरेर उपसभामुखले दलहरूको उक्साहटमा आज बिहानै प्रदेशसभा बैठक राख्नु भयो,’ उनले भने । मुख्यमन्त्री यादवकै अडान अनुसार आज दिउँसो दुई बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको हो । उपसभामुख ईशरले पुनः कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर मुख्यमन्त्री यादवले मागेकै समयअनुसार दिउँसो २ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको जानकारी दिइन् ।

सोमबार सर्वोच्च अदालतले मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन परमादेश गरेपछि प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि मुख्यमन्त्री यादवले आफूलाई यसको औपचारिक रुपमा आदेशको प्रति प्राप्त नभएको बताउँदै प्रदेश सभाबाट प्रति ल्याएर प्रक्रिया अगाडि बढाउन आफूले अग्रसरता लिएको जानकारी दिएका थिए ।

‘विव्यस’ गठन नगरे अनुदान रोक्का गर्ने मन्त्री पुनको चेतावनी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन नगरी मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने स्थानीय तहहरूलाई कडा चेतावनी दिएका छन् । मन्त्रालयले जारी गरेको निर्देशनअनुसार अझै समिति गठन नगरेका पालिकालाई तत्काल व्यवस्था मिलाउन सूचना पठाइसकिएको छ । मन्त्री पुनका अनुसार एसएमसी गठन नगर्ने प्रवृत्तिले विद्यालयको शैक्षिक गुणस्तर, पारदर्शिता र अभिभावकको विश्वासमाथि गम्भीर असर पर्न थालेको छ ।

‘विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने कुनै पनि गतिविधि सह्य हुँदैन,’ मन्त्री पुनले भने, ‘नियमअनुसार विद्यालय सञ्चालनका लागि सबै पालिकाले अनिवार्य रूपमा व्यवस्थापन समिति गठन गर्नैपर्छ ।’ मन्त्रालयले निर्देशन उल्लंघन गर्ने स्थानीय तहहरूलाई विद्यालयमा आउने संघीय अनुदान रोक्का गरिने चेतावनी दिएको छ । साथै, यस्ता पालिकाहरूको सूची संकलन भइरहेको र आवश्यक कारबाही अघि बढाइने मन्त्री पुनले बताए । यस्तै उनले अभिभावकहरूलाई पनि आफ्ना क्षेत्रमा भएका अनियमितताबारे जानकारी गराउन आग्रह गरेका छन् ।

 

 

कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनको मिति पुस २६–२८ गतेका लागि तोकेपछि पार्टीभित्र क्रियाशील सदस्यता सम्बन्धी कामले पुनः गति लिएको छ । यही प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ आज बुधबार बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ ।

समितिका संयोजक तथा महामन्त्री गगनकुमार थापाले बैठक आह्वान गरेका हुन् । लामो समयदेखि निष्क्रिय जस्तै बनेको यो समिति महाधिवेशनको काउन्ट डाउनसँगै पुनः सक्रिय भएको हो । केन्द्रीय सदस्य प्रकाश रसाइली (स्नेही) का अनुसार बैठकमा क्रियाशील सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण तथा दुवै प्रक्रियालाई सहज बनाउने विषयमा विस्तृत छलफल हुनेछ ।

पार्टीले केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकमार्फत क्रियाशील सदस्यता नवीकरण र वितरणमा सहजता र उदारता अपनाउने निर्णय गरेपछि समितिले सो निर्णयलाई तल्लो संगठनसम्म कार्यान्वयन गर्ने तयारी थालेको छ । रसाइलीका अनुसार हालसम्म भएका कामहरू लिपिबद्ध गर्नेदेखि लिएर सदस्यता व्यवस्थापनको प्राविधिक पक्षलाई सक्षम बनाउनेसम्मका मुद्दा आजको बैठकको एजेण्डामा छन् । महाधिवेशन तयारीसम्बन्धी कार्यतालिका अनुसार पुस १२ गतेभित्र सबै तहबाट क्रियाशील सदस्यताको विवरण केन्द्रीय कार्यालयमा बुझिसक्नु पर्नेछ । यही कारण समितिको सक्रियता थप बढेको छ ।

महामन्त्री थापाले केन्द्रीय कार्यसमितिमा पेस गरेको प्रतिवेदनअनुसार झण्डै नौ लाख क्रियाशील सदस्यमध्ये करिब तीन लाखले मात्र सदस्यता नवीकरण गरेका छन् । बाँकी सदस्यता अद्यावधिक गर्न समितिले आवश्यक संयोजन र निर्देशिका कार्यान्वयनलाई तीव्र बनाउने बताइएको छ । थापाको संयोजकत्वमा रहेको व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्यका रूपमा रहेका छन् । महाधिवेशनलाई क्रियाशील सदस्यता विवादबाट मुक्त राख्न र स्पष्ट, प्रमाणित सदस्यता दायरा तयार गर्न समितिको आज बस्ने बैठक महत्वपूर्ण मानिएको छ ।

मधेश प्रदेश सभा बैठक बस्न ढिलाई, सुरक्षा व्यवस्था कडा

जनकपुर । मधेश प्रदेशमा विश्वासको मतको प्रक्रिया फेरि एकपटक अनिश्चित बन्दै गएको छ । बुधबार बिहान ८ः३० बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएकाले प्रदेश सभा सदस्यहरु समयमै जनकपुरधामस्थित सभा भवन पुगे पनि मुख्यमन्त्री सरोज कुमार यादव उपस्थित नहुँदा बैठक निर्धारित समयमा सुरु हुन सकेन । विश्वासको मत पेश गर्नुपर्ने मुख्य एजेण्डा भएको बैठकमा मुख्यमन्त्री नपुगेपछि सभाहलमा भेला भएका सांसदहरू प्रतीक्षामा बसिरहेका छन् ।

मंगलबार दिउँसो मुख्यमन्त्री यादवले २ बजेको समय माग्दै पत्र पठाएका थिए । तर सर्वदलीय बैठकले त्यसअघि नै बुधबार बिहान बैठक डाक्ने निर्णय गरेपछि सत्ता पक्षमै आन्तरिक असमझदारी देखिएको छ । उक्त सर्वदलीय बैठक उपसभामुख बबिता राउत ईश्वरको अध्यक्षतामा बसेको थियो ।

प्रदेशसभा बैठक बस्न ढिलाइ भइरहँदा भवन परिसरमा सुरक्षा कडा पारिएको छ । तालिम प्राप्त कुकुरमार्फत सुरक्षा जाँच गरिएको छ, जुन जेनजी आन्दोलनको क्रममा सुरक्षा उपकरण जलाइएपछि अपनाइएको विधि हो । यसअघि पनि मुख्यमन्त्री विश्वासको मतको प्रक्रियासँग जोडिएको संवेदनशील दिनमा यस्तो सुरक्षा जाँच गरिएको थियो । मधेश प्रदेशको हालको राजनीतिक अस्थिरताको मूलमा सर्वोच्च अदालतको आदेश छ । अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन निर्देशन दिएको थियो । आदेश आएको भोलिपल्ट मुख्यमन्त्रीले आफूसँग आदेशको औपचारिक प्रति नआएको तर प्रक्रिया अघि बढाउन सचिवालयसँग सहयोग मागेको बताएका थिए । तर बिहानको बैठकमा उनको अनुपस्थितिले परिस्थिति झनै उल्झिएको छ ।

यसअघि सात दलको समर्थनमा मुख्यमन्त्री बनेका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत नपाउने अवस्था बनेपछि राजीनामा दिएका थिए । त्यसपछि संविधानको धारा १६८(३) अनुसार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई नयाँ मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । तर बर्दिवासस्थित होटलमा झिसमिसेमा गरिएको शपथले व्यापक विवाद खडा गर्दै दलहरू सर्वोच्च अदालतसम्म पुगेका थिए । अब सबैको ध्यान मुख्यमन्त्री यादव कहिले सभामा पुग्छन् र विश्वासको मतको प्रक्रिया अघि बढ्छ कि बढ्दैन भन्ने प्रश्नमा केन्द्रित छ । बैठक बस्न ढिलाइ भइरहेका बेला प्रदेश सभाभित्र र वरिपरि राजनीतिक तनाव, प्रतीक्षा र अनिश्चितताको माहोल छ ।

 

कुलमान घिसिङको उपस्थितिमा आज ‘उज्यालो नेपाल पार्टी’ को औपचारिक घोषणा

काठमाडौँ । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको आज (बुधबार) औपचारिक घोषणा हुँदैछ । प्रज्ञा भवन, कमलादी, काठमाडौँमा आज दिउँसो पार्टीको औपचारिक घोषणा हुन लागेको हो । सभा गर्न लागेको छ।

कार्यक्रममा प्रमुख अतिथि ऊर्जामन्त्री मन्त्री कुलमान घिसिङ रहने छन् । कार्यक्रममा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गरिने बताइएको छ । पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गर्ने पार्टीको तयारी छ ।

पार्टीले यसअघि मंसिर १२ गते जारी गरेको विज्ञप्तिमा दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै नभई उज्यालो सपना साकार पार्नसक्ने नेतृत्व, कार्यकुशलता र अनुभव भएको दाबी गरेको थियो । पार्टीले आम नेपाली जनताले विश्वास र भरोसा गरेको नेतृत्व गर्ने बताएको थियो । जेन्जी आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गरी समृद्ध राष्ट्र निर्माणार्थ परिणाममुखी संवादमार्फत एकजुट हुन पनि आह्वान गरेको छ ।

ओखलढुङ्गामा पुनः महाधिवेशन प्रतिनिधि छनौट गर्न एमालेको निर्देशन

विराटनगर । नेकपा (एमाले) केन्द्रीय कार्यालयले ओखलढुङ्गामा सम्पन्न महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया बदर गर्दै नयाँ रूपमा पुनः निर्वाचन अघि बढाउन निर्देशन दिएको छ । एकलौटी ढंगले प्रतिनिधि छानिएको भन्दै दर्ता भएका उजुरी, बहुसंख्यक इच्छुक उम्मेदवारको असहमति, पालिका कमिटीहरूका माग र प्रदेश तथा केन्द्रीय निर्देशन उलङ्घन भएको निष्कर्षपछि निर्वाचन प्रक्रिया अस्वीकार्य ठहर गरिएको हो ।

केन्द्रीय कार्यालयले १६ मंसिरमा जारी पत्रमार्फत ओखलढुङ्गा जिल्ला कमिटीलाई सबै पालिकामा मतदान केन्द्र स्थापना गरी पाँच दिनभित्र पुनः निर्वाचन सञ्चालन गर्न भनिएको छ । यसका लागि आम सदस्यसम्म प्रभावकारी सूचना प्रवाह गर्न तथा चुनावी तयारी पूरा गर्न स्पष्ट निर्देशन पनि दिएको छ । पुनः निर्वाचन सहज बनाउन प्रदेश इञ्चार्ज शेरधन राईसहित केन्द्रीय नेता विशाल भट्टराई, यज्ञराज सुनुवार र किशोर अधिकारीलाई समन्वय भूमिकामा तोकिएको छ ।

शनिबार सम्पन्न प्रतिनिधि छनोटमा जिल्ला सदरमुकाममा मात्रै मतदान केन्द्र राखिएकाले निर्वाचन ‘एकलौटी’ भएको आरोप लगाउँदै आठमध्ये छवटा पालिका कमिटीले असन्तुष्टि व्यक्त गरेका थिए । ओखलढुङ्गामा अम्बिरबाबु गुरुङ र यज्ञराज सुनुवार समूहबीच प्रतिस्पर्धा तीव्र रहेको अवस्थामा केन्द्रीय पार्टीले गरेको हस्तक्षेपलाई नैतिक व्यवस्था कायम गर्न आवश्यक कदमका रूपमा लिएको बताइएको छ ।

यद्यपि सम्पन्न निर्वाचनमा ईश्वर पोखरेल समूहले ‘क्लिन स्विप’ गरेको घोषणा गरिएको थियो । १२ पदका लागि ४१ उम्मेदवार प्रतिस्पर्धामा रहेकामध्ये खुलातर्फ अम्बिरबाबु गुरुङ, ज्ञानबहादुर खड्का, कमलप्रसाद न्यौपाने, अशोक थापा, राजीव कटवाल र केदारबाबु बस्नेत; महिलातर्फ इच्छाकुमारी गुरुङ, जुना विक, पशुपति गुरुङ र रमिला मगर श्रेष्ठ; युवातर्फ टिकाराम धमला र दलिततर्फ ज्यानु कालिकोटे निर्वाचित भएका थिए ।

कुल ७,१३५ मतदातामध्ये १,५१८ जनाले मात्रै मतदान गरेका कारण परिणामको वैधताबारे प्रश्न उठिरहेको थियो । यसअघि नै कोसी प्रदेश कमिटीले ओखलढुङ्गाको मतदान प्रक्रिया अस्वीकार्य भएको सार्वजनिक गर्दै त्यहाँ करिब १५ प्रतिशत मत खस्नुका साथै आन्तरिक विवाद नसल्किएको कारण परिणाम मान्य नहुने ठहर गरेको थियो । अब केन्द्रीय निर्देशनअनुसार पाँच दिनभित्र सबै पालिकामा मतदान केन्द्रसहित नयाँ प्रक्रिया अघि बढाइनेछ, जसपछि मात्र ओखलढुङ्गाका प्रतिनिधिहरू महाधिवेशनमा सहभागिताको लागि आधिकारिक रूपमा चयन हुनेछन् ।

मधेस प्रदेशसभा वैठक बस्दै, के होला मुख्यमन्त्री यादव नेतृत्वको सरकार ?

काठमाडौं । सर्वोच्च अदालतबाट आएको परमादेशले राजनीतिक हलचल बढेपछि मधेस प्रदेशमा आज बिहानै प्रदेशसभा बैठक बस्ने भएको छ । विश्वासको मतका लागि प्रस्तुत हुन लागिरहेका मुख्यमन्त्री सरोजकुमार यादवसहित सिंगो प्रदेशको राजनीतिक नजर अहिले जनकपुरमा केन्द्रित छ ।

उपसभामुख बबिता राउत ईश्वरले दलगत सहमतिअनुसार बुधबार बिहान साढे ८ बजे बैठक बोलाउने निर्णय सार्वजनिक गरेकी छन् । यसअघि सर्वोच्च अदालतले सोमबार साँझ २४ घण्टाभित्र विश्वासको मत लिन बाध्यगत परमादेश जारी गरेको थियो ।

तर, मुख्यमन्त्री यादवले अदालतको आदेश पत्र आफूलाई समयमै प्राप्त नभएकाले मंगलबार बिहानभित्र बैठक बोलाउन नसकेको स्पष्टीकरण दिएका थिए । आदेश प्राप्त गर्न ढिलाइ भएकै कारण मंगलबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी उनले बुधबार दिउँसो २ बजेका लागि प्रदेशसभा सचिवालयमा बैठक आह्वान गर्न पत्र पठाएको जानकारी दिएका थिए ।

यद्यपि मंगलबार बेलुकै सर्वदलीय बैठकमा पुनः छलफल हुँदा आज बिहान साढे ८ बजेमै बैठक बसाल्ने सहमति बनेको उपसभामुखको सचिवालयले जनाएको छ । दलगत सहमतिअनुसार नै पुनः आह्वान गरिएको बैठकमा मुख्यमन्त्री यादवले आफ्नो सरकार कायम राख्ने कि ढल्ने भन्ने निर्णायक क्षण आउनेछ । प्रदेश राजनीतिक तरलताका बीच बसेको यस बैठकले मधेसको सत्ता समीकरणमा महत्वपूर्ण मोड ल्याउने अपेक्षा गरिएको छ ।

सर्वोच्चको परमादेशसँगै ७ दलीय गठबन्धनले नयाँ सरकार गठनका लागि तयारी थालिसकेको छ । यस हिसाबले मुख्यमन्त्रीको विपक्षमा मधेश प्रदेशसभाको अंक गणित छ । एमालेसँग जम्मा २५ प्रदेशसभा सदस्य छन् जसमध्ये एक जना निलम्बित छन् । जबकि विश्वासको मत पाउनका लागि १०७ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत पाउनका लागि ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुन्छ ।

नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक प्रदेशसभा सदस्य मुख्यमन्त्रीको पक्षमा देखिए पनि राप्रपाले आफ्ना मन्त्री कञ्चन बिच्छामाथि कारबाही प्रक्रिया अघि बढाइसकेको छ । यता विपक्षमा रहेको गठबन्धनमा कांग्रेसको २२, जसपा नेपालको १८, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादी पार्टीको ७ र नागरिक उन्मुक्ति पार्टी १ गरी सातदलीय गठबन्धन दुई तिहाइ प्रदेशसभा सदस्य छन् । यस हिसाबले मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना कम देखिन्छ ।

एडमको शतकमा पोखराको जित, कर्णाली प्लेअफ समीकरणबाट बाहिरियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफ दौडबाट कर्णाली याक्स बाहिरिएको छ । आज (मंगलबार) पोखरा एभेन्जर्ससँग ३४ रनको हारसँगै कर्णाली लिग चरणको अन्तिम खेल बाँकी छँदै प्लेअफमा नपुग्ने समीकरण बनेको हो ।

मंगलबार भएको आफ्नो छैटौं खेलमा पोखरा एभेन्जर्ससँग पराजित हुँदै कर्णाली प्लेअफ दौडबाट बाहिरिएको हो । ६ खेलमा एक खेलमा मात्रै जित निकालेको कर्णाली प्लेअफबाट बाहिरिने पहिलो टोली बनेको छ । पाँचौं खेलमा दोस्रो जित निकालेको पोखराले प्लेअफको सम्भावना कायमै राखेको छ । पोखरा एभेन्जर्सले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा १६७ रनमा समेटियो ।

कर्णालीका लागि ओपनर मार्क वाटले सर्वाधिक ५९ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । ओपनर प्रियांक पञ्चाल १६, जयकिशान कोल्शावाला ६, पवन सर्राफ १९, नजिबुल्लाह जद्रान २४, गुल्सन झा ९, कप्तान सोमपाल कामी १३, दीपेन्द्र रावत १०, विपिन शर्मा ० र युनिष सिंह ठकुरी एक रनमा आउट भए । नन्दन यादव ३ रनमा अविजित रहे ।

बलिङमा पोखराका ऋषि धमला र धनन्जय लक्षनले ३–३ विकेट लिए । किरण ठगुन्ना, सन्दीप क्षेत्री र कप्तान कुशल भुर्तेलले एकएक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै २०१ रन बनाएको थियो ।

पोखराका लागि ओपनर एडम रोसिङटनले शतक प्रहार गरे । एडम ५८ बलमा १०८ रनमा अविजित रहे । जेसोन रोय ४६ र कप्तान कुशल भुर्तेल १८ रनमा आउट भए धनन्जय लक्षन २३ रनमा अविजित रहे । बलिङमा कर्णालीका मार्क वाट र गुल्सन झाले एकएक विकेट लिए ।