`

रवि-बालेन गुट स्पष्ट

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्रको आन्तरिक असन्तुष्टि र गुटगत दूरी अब सामाजिक सञ्जालका अभिव्यक्तिमार्फत् समेत सतहमा आउन थालेको छ।

पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहनिकट समूहबीच देखिएको असहज सम्बन्ध नेताहरूका पछिल्ला गतिविधि र अभिव्यक्तिबाट थप प्रस्ट हुँदै गएको छ।

प्रतिनिधिसभाको पछिल्लो बैठकमा रास्वपाका पूर्वप्रवक्ता तथा सांसद मनिष झाले प्रधानमन्त्रीसहित सरकारको नेतृत्व गरिरहेको समूहलाई ‘कालो चश्मा’ हटाएर जनतामा देखिएको असन्तुष्टि र निराशातर्फ हेर्न आग्रह गरेका थिए। उनले सरकारले बाह्य रूपमा केही प्रतीकात्मक सुधार गरे पनि अब वास्तविक समस्या पहिचान गर्न दृष्टिकोणमै परिवर्तन आवश्यक रहेको संकेत गरेका थिए।

झाको अभिव्यक्तिपछि रास्वपाभित्रै ‘कालो चश्मा’ सामाजिक सञ्जालको व्यङ्ग्यात्मक राजनीतिक संकेत बनेको देखिएको छ।

पार्टी सभापति रवि लामिछानेनिकट मानिने नेता दीपक बोहराले फेसबुकमा आफ्नो तस्बिर सार्वजनिक गर्दै ‘मैले त कालो चश्मा खोलेँ है !’ लेखेपछि त्यसलाई प्रधानमन्त्री बालेन्द्र शाह पक्षलाई लक्षित सन्देशका रूपमा अर्थ्याउन थालिएको छ।

बोहरा लामिछानेनिकट नेताका रूपमा चिनिने भएकाले उनको उक्त अभिव्यक्तिले पार्टीभित्रको शक्ति समीकरणबारे थप चर्चा जन्माएको छ। सामान्य व्यक्तिगत तस्बिरसँग जोडिएको एउटा छोटो वाक्य भए पनि त्यसको समय र सन्दर्भलाई हेर्दा यसलाई राजनीतिक सन्देशका रूपमा बुझ्नेहरू बढेका छन्।

रास्वपाका केही नेता तथा कार्यकर्ताले समेत सामाजिक सञ्जालमा ‘कालो चश्मा खोल्ने’ शैलीका पोस्ट गर्न थालेका छन्। उनीहरूका अभिव्यक्तिमा सरकारप्रति जनतामा बढिरहेको असन्तुष्टि, सरकारको कार्यशैली र नेतृत्वको व्यवहारमाथि प्रश्न उठाइएको देखिन्छ।

यसअघि संसदमा सांसद मनिष झाले प्रधानमन्त्री शाहसहित सरकारका केही मन्त्रीलाई लक्षित गर्दै ‘कालो चश्मा’को प्रसंग उठाएका थिए।

उनको संकेत सरकार सञ्चालन गर्नेहरूले जनताको वास्तविक अवस्था, असन्तुष्टि र समस्यालाई पर्याप्त रूपमा नदेखेको भन्ने थियो। त्यसपछि सोही विषयलाई लिएर सामाजिक सञ्जालमा व्यङ्ग्य र राजनीतिक टिप्पणीको क्रम बढेको हो।

प्रधानमन्त्री शाहसहित भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, गृहमन्त्री सुधन गुरुङ र शिक्षामन्त्री सस्मित पोखरेललगायत केही मन्त्री संसद् र सार्वजनिक कार्यक्रममा कालो चश्मामा देखिने गरेका छन्। यही विषयलाई लिएर संसद्को मर्यादा र सांसदको पोसाकसम्बन्धी प्रश्नसमेत उठेको थियो।

संसद् बैठकमा कालो चश्माको प्रयोगलाई लिएर आलोचना बढेपछि सभामुख डिपी अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत दलका प्रमुख सचेतक र सचेतकहरूलाई सांसदहरूले संसद्को ड्रेसकोड पालना गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराएका थिए। संसद् बैठकमा मर्यादित र औपचारिक उपस्थितिलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

तर अहिले ‘कालो चश्मा’को विषय संसद्को ड्रेसकोडमा मात्र सीमित नरही रास्वपाभित्रको राजनीतिक असन्तुष्टिको प्रतीकजस्तो बन्न थालेको छ।

विशेषगरी रवि लामिछाने र प्रधानमन्त्री शाहबीचको सम्बन्ध तथा सरकार सञ्चालनमा पार्टीको भूमिका कस्तो रहने भन्ने प्रश्नसँग यसलाई जोडेर हेर्न थालिएको छ।

रास्वपाभित्र सरकार सञ्चालन र पार्टी संगठनबीचको समन्वयलाई लिएर यसअघि पनि असन्तुष्टि सार्वजनिक हुँदै आएको थियो। आफ्नै सांसदहरूले संसदमा सरकारका कामकारबाहीबारे प्रश्न उठाउनु र नेताहरूले सामाजिक सञ्जालमार्फत् सरकारको कार्यशैलीप्रति संकेतात्मक टिप्पणी गर्नुले पार्टीभित्रको असहमति अब लुकाएर राख्न कठिन हुँदै गएको देखिन्छ।

‘कालो चश्मा खोल्ने’ अभियान वास्तवमै कुनै संगठित राजनीतिक रणनीति हो वा तत्कालीन असन्तुष्टिको सामाजिक सञ्जाल अभिव्यक्ति मात्रै हो भन्ने स्पष्ट भइसकेको छैन। तर सत्ता सञ्चालनको नेतृत्व गरिरहेको प्रधानमन्त्रीकै दलका प्रभावशाली नेताहरूबाट लगातार यस्ता संकेत आउनुले रास्वपाभित्र राजनीतिक दूरी बढिरहेको अनुमानलाई भने बल पुगेको छ।

प्रधानमन्त्री शाहले पछिल्लो समय आफूलाई ‘एक्लै लड्नुपर्ने’ अवस्था आउन सक्ने आशयका अभिव्यक्ति सामाजिक सञ्जालमार्फत् दिइरहेका छन्।त्यसको केही समयमै पार्टीभित्रकै नेताहरूबाट ‘कालो चश्मा खोल्ने’ सन्देश आउनुले सरकार र पार्टी नेतृत्वबीचको सम्बन्धमाथि थप प्रश्न उठाएको छ।

काठमाडौंमा विश्व आदिवासी दिवसको रौनक [फोटो-फिचर]

काठमाडौं। ३२औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले काठमाडौंमा विविध कार्यक्रम आयोजना गरेको छ।

‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आइतबार विभिन्न कार्यक्रमसहित दिवस मनाइएको हो।

संयुक्त राष्ट्रसंघले सन् १९९४ देखि अगस्ट ९ लाई अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसका रूपमा मनाउँदै आएको छ। नेपालमा पनि हरेक वर्ष आदिवासी जनजाति समुदायले आफ्नो मौलिक पहिचान, भाषा, संस्कृति, परम्परा तथा अधिकारका सवाललाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन्।

यस वर्षको दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा आदिवासी जनजाति समुदायको सांस्कृतिक विविधता प्रदर्शनसँगै संविधानले सुनिश्चित गरेका अधिकारको कार्यान्वयन, समानुपातिक समावेशिता र पहिचानका विषयलाई प्राथमिकताका साथ उठाइएको छ।

दिवसको मुख्य कार्यक्रमअन्तर्गत काठमाडौंको भृकुटीमण्डपबाट सांस्कृतिक झाँकीसहितको र्‍याली निकालिएको थियो। विभिन्न आदिवासी जनजाति समुदायका सहभागी मौलिक भेषभूषामा सजिएर परम्परागत बाजागाजा, गीत तथा नृत्यसहित र्‍यालीमा सहभागी भएका थिए।

र्‍याली भृकुटीमण्डपबाट सुरु भई भद्रकाली, सहिदगेट, सुन्धारा, वीर अस्पताललगायत क्षेत्र हुँदै खुलामञ्च पुगेको थियो। र्‍यालीमा सहभागी विभिन्न समुदायले आफ्ना मौलिक संस्कृति, परम्परा र पहिचान झल्काउने प्रस्तुति दिएका थिए।

नेवार, मगर, तामाङ, शेर्पा, गुरुङ, थकाली, दुरा, माझी, याख्खा, राजवंशी, सुनुवार, ह्योल्मोलगायत विभिन्न समुदायको सहभागिताले र्‍यालीलाई बहुसांस्कृतिक स्वरूप दिएको थियो।

खुलामञ्चमा पुगेपछि र्‍याली मूल समारोहमा परिणत भएको थियो। मूल समारोहमा विभिन्न आदिवासी जनजाति समुदायको कला, संस्कृति, भाषा, परम्परा र जीवनशैली झल्काउने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका छन्।

परम्परागत गीत, नृत्य, बाजागाजा तथा मौलिक सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई उत्सवमय बनाएको थियो। विभिन्न समुदायले आफ्ना पुस्तौँदेखिका सांस्कृतिक अभ्यास र परम्परालाई सार्वजनिक रूपमा प्रस्तुत गर्दै संरक्षण र पुस्तान्तरणको सन्देशसमेत दिएका थिए।

महासंघका अनुसार काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा आदिवासी जनजाति समुदायका प्रतिनिधि, युवा, महिला, विद्यार्थी, कलाकार तथा सांस्कृतिक समूह कार्यक्रममा सहभागी भएका छन्।

कार्यक्रममा सरकारी अधिकारी, राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, मानवअधिकारकर्मी, शिक्षाविद्, कलाकार तथा सञ्चारकर्मीको समेत सहभागिता रहेको महासंघले जनाएको छ।

विश्व आदिवासी दिवसलाई केवल सांस्कृतिक उत्सवका रूपमा मात्र नभई आदिवासी जनजाति समुदायका अधिकार र सरोकारका विषय उठाउने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।

महासंघले संविधानमा सुनिश्चित गरिएका आदिवासी जनजातिका अधिकार व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ। समानुपातिक तथा समावेशी प्रतिनिधित्व, मातृभाषामा शिक्षा, भूमि तथा प्राकृतिक स्रोतमा अधिकार, सांस्कृतिक सम्पदाको संरक्षणलगायत विषयलाई महासंघले प्राथमिकतामा राखेको छ।

आदिवासी जनजाति समुदायको पहिचान भाषा, संस्कृति, परम्परा र भूमिसँग जोडिएको भन्दै यी पक्षको संरक्षण र अधिकारको सुनिश्चितता बिना समावेशी र न्यायपूर्ण समाज निर्माण सम्भव नहुने महासंघको धारणा छ।

नेपालका आदिवासी जनजाति समुदायले लामो समयदेखि राजनीतिक प्रतिनिधित्व, सामाजिक न्याय, आर्थिक अवसर तथा सांस्कृतिक अधिकारका विषय उठाउँदै आएका छन्। विश्व आदिवासी दिवसका अवसरमा यी विषयलाई पुनः राष्ट्रिय बहसमा ल्याउने प्रयास गरिएको छ।

महासंघले आदिवासी समुदायको परम्परागत ज्ञान, सीप र प्राकृतिक स्रोतसँगको सम्बन्धलाई संरक्षण गर्दै आधुनिक विकास प्रक्रियामा समेत उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने बताउँदै आएको छ।

विशेषगरी प्राकृतिक स्रोत तथा भूमि उपयोगका विषयमा स्थानीय र आदिवासी समुदायको अधिकार तथा सहभागितालाई सुनिश्चित गर्नुपर्ने माग पनि दिवसका अवसरमा उठाइएको छ।

दिवसको अवसरमा खुलामञ्चमा सांस्कृतिक कार्यक्रमसँगै विभिन्न आदिवासी जनजाति समुदायका रैथाने परिकार, हस्तकला तथा स्थानीय उत्पादनको प्रदर्शनीसमेत आयोजना गरिएको छ।

विभिन्न समुदायका मौलिक भेषभूषा, हस्तकलाका सामग्री, स्थानीय उत्पादन तथा सांस्कृतिक सामग्री प्रदर्शनमा राखिएका छन्। फुड फेस्टिबलमार्फत विभिन्न समुदायका परम्परागत तथा रैथाने परिकारसमेत सहभागीलाई परिचित गराइएको छ।

यस्ता गतिविधिले सांस्कृतिक पहिचानको संरक्षणसँगै स्थानीय उत्पादन, सीप र परम्परागत ज्ञानलाई प्रवर्द्धन गर्ने उद्देश्यसमेत बोकेको आयोजकको भनाइ छ।

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले यहाँका विभिन्न समुदायको मौलिक पहिचानको संरक्षणलाई राष्ट्रिय एकताको आधारका रूपमा लिनुपर्ने सन्देश दिवसका कार्यक्रममार्फत दिइएको छ।

विभिन्न समुदायका मानिस आफ्ना फरक–फरक पहिचान, भाषा, भेषभूषा र संस्कृतिसहित एउटै कार्यक्रममा सहभागी हुनु आफैंमा नेपालको सामाजिक तथा सांस्कृतिक विविधताको प्रतिनिधित्व भएको आयोजकको बुझाइ छ।

महासंघले प्राप्त अधिकारको संरक्षण गर्दै बाँकी अधिकारका लागि लोकतान्त्रिक र संवैधानिक माध्यमबाट आवाज उठाउने प्रतिबद्धता जनाएको छ। पहिचानसहितको समावेशी, समानतामूलक र न्यायपूर्ण समाज निर्माणका लागि राज्य र आदिवासी जनजाति समुदायबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेकोमा पनि जोड दिइएको छ।

यसरी काठमाडौंमा आयोजित ३२औँ विश्व आदिवासी दिवसले सांस्कृतिक उत्सवसँगै आदिवासी जनजाति समुदायका अधिकार, पहिचान र समावेशिताका सवाललाई पुनः सार्वजनिक बहसको केन्द्रमा ल्याएको छ।

तस्वीरहरू: 

 

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

एसियन गेम्समा नेपालको २१७ सदस्यीय टोली, २२ खेलमा १३६ खेलाडी

काठमाडौं । जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुने २०औँ एसियन गेम्समा नेपालले २२ खेलमा सहभागिता जनाउने भएको छ।

एसियाली खेलकुदको सबैभन्दा ठूलो मञ्चमध्ये एक मानिने प्रतियोगितामा नेपालबाट १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार नेपाली टोलीमा ८० पुरुष र ५६ महिला खेलाडी रहनेछन्। खेलाडीबाहेक प्रशिक्षक, व्यवस्थापक, मेडिकल टोली, नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि तथा अन्य आवश्यक पदाधिकारीसहित नेपाली टोलीको कुल संख्या २१७ पुग्नेछ।

नेपालले आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, क्रिकेट, साइकलिङ, गल्फ, कबड्डी, कराते, जुडो, स्क्वास, पौडी, टेबलटेनिस, टेनिस, सफ्ट टेनिस, कुस्ती, क्यानोइ स्लालोम, ब्रेकिङ एन्ड डान्स स्पोर्ट्स, स्केटबोर्ड, तेक्वान्दो, भलिबल र उसुमा प्रतिस्पर्धा गर्नेछ।

यसपटक नेपालले टिम इभेन्टमा महिला तथा पुरुष कबड्डी, पुरुष क्रिकेट र महिला भलिबलमा सहभागिता जनाउनेछ। अन्य खेल व्यक्तिगत विधामा केन्द्रित छन्।

एसियन गेम्सका लागि तयार गरिएको नेपाली प्रतिनिधिमण्डलमा १३६ खेलाडीका अतिरिक्त ३२ प्रशिक्षक र २० व्यवस्थापक रहनेछन्। टोलीको नेतृत्वका लागि राखेप सदस्य–सचिव रामचरित्र मेहतालाई सेफ दि मिसनको जिम्मेवारी दिइएको छ।

नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष तथा नेपाल गल्फ संघका अध्यक्ष टासी घले डेपुटी सेफ दि मिसनका रूपमा रहनेछन्।

टोलीमा मेडिकल टिम, नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, सञ्चार टोलीलगायत अन्य सदस्यसमेत रहनेछन्। यसमध्ये १८८ जनाको नाम सार्वजनिक भइसकेको छ भने बाँकी २७ जनाको नाम सार्वजनिक हुन बाँकी रहेको राखेप स्रोतले जनाएको छ।

एसियन गेम्समा नेपालका खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अनुभव दिलाउनेसँगै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर पनि हुनेछ। विभिन्न खेलका खेलाडीले आफ्नो तयारीअनुसार प्रदर्शन सुधार गर्ने लक्ष्य राखेका छन्।

खेलअनुसार सबैभन्दा ठूलो नेपाली टोली कबड्डीमा हुनेछ। पुरुष र महिला दुवै टोलीमा १२–१२ खेलाडी गरी कबड्डीमा कुल २४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

महिला कबड्डी टोलीमा रविना चौधरी, गंगा घिमिरे, नानु माया पराजुली, विनिता पन्डित क्षेत्री, जयन्ती बडु, अस्मा यादव, खिम माया खत्री, मेनुका कुमारी राजवंशी, मिना नेपाली, सृजना कुमारी थारु, मनमती विष्ट र मनिषा जोशी रहेका छन्।

पुरुष कबड्डी टोलीमा घनश्याम रोका मगर, अन्कु पुन, आदित चौधरी, प्रकाश गिरी, सुरज बोहरा, संस्कार कुमार, रवि थारु, अशोक जोशी, सागर थादव, कुमार लामा, गणेश पार्की र करुण रसाइली छन्।

कबड्डीपछि पुरुष क्रिकेटमा १५ र महिला भलिबलमा १२ खेलाडी सहभागी हुनेछन्।

पुरुष क्रिकेटमा नेपालले आफ्नो नियमित अन्तर्राष्ट्रिय टोलीका अधिकांश अनुभवी खेलाडीलाई समेटेको छ। टोलीमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सनकुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्।

नेपालका लागि क्रिकेट पछिल्लो समय अन्तर्राष्ट्रिय मञ्चमा तुलनात्मक रूपमा बलियो प्रदर्शन गर्ने खेल बनेकाले एसियन गेम्समा पनि टोलीबाट राम्रो नतिजाको अपेक्षा गरिएको छ।

भलिबलमा नेपालले महिला टोलीलाई मात्र सहभागी गराउने भएको छ। टोलीमा निरुता ठगुन्ना, उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, आरती सुवेदी, लक्ष्मी चन्द, बसन्ती कुमारी साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, रिमा कुँवर, प्रगती नाथ र सलिना श्रेष्ठ रहेका छन्।

महिला भलिबलले पनि एसियाली स्तरमा आफ्नो क्षमता परीक्षण गर्नेछ। टिम गेममा प्रतिस्पर्धा गर्दा खेलाडीबीचको समन्वय, अनुभव र मानसिक तयारी महत्वपूर्ण हुने भएकाले प्रतियोगिताअघि प्रशिक्षणलाई विशेष प्राथमिकता दिइनेछ।

व्यक्तिगत विधातर्फ सबैभन्दा धेरै खेलाडी उसुमा छन्। उसुमा ११ खेलाडीले नेपालका लागि प्रतिस्पर्धा गर्नेछन्।

विजय सिन्जाली, हरिप्रसाद गोले, राजीव तामाङ, दीपक हमाल, सुस्मिता तामाङ, सविता राई, रोहित चुनारो, मुकेश पन्डित, अमर सुनार, सञ्जीव महर्जन र रिता ठकुल्ला टोलीमा छन्।

उसुमा विभिन्न विधा र तौल समूहमा नेपाली खेलाडीले चुनौती प्रस्तुत गर्नेछन्। यस खेलबाट पनि नेपालले राम्रो प्रदर्शनको अपेक्षा गरेको छ।

एथलेटिक्सतर्फ नेपालले मध्यम तथा लामो दूरीका दौडमा खेलाडी उतार्नेछ। सोमबहादुर कुमालले ८०० मिटरमा प्रतिस्पर्धा गर्नेछन्। मुकेशबहादुर पालले १५०० र ५००० मिटरमा सहभागिता जनाउनेछन्।

राजन रोकायले १० हजार मिटर तथा म्याराथनमा प्रतिस्पर्धा गर्नेछन् भने खड्कबहादुर खड्का म्याराथनमा सहभागी हुनेछन्।

महिलातर्फ सन्तोषी श्रेष्ठले ५००० र १० हजार मिटरमा प्रतिस्पर्धा गर्नेछिन्। पूर्णलक्ष्मी न्यौपानेले १५०० र ५००० मिटरमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

पौडीमा नेपालबाट पाँच खेलाडी सहभागी हुनेछन्। डुआना लामाले १०० मिटर फ्रिस्टाइल, २०० मिटर फ्रिस्टाइल र १०० मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन्।

आर्या महर्जनले १०० मिटर फ्रिस्टाइल र ५० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन्। पुरुषतर्फ अभिव प्रधानले १०० मिटर फ्रिस्टाइल र ५० मिटर बटरफ्लाई, जादेन श्रेष्ठले १०० र ५० मिटर ब्रेस्टस्ट्रोक तथा एर्भिन श्रेष्ठले ५० र १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्।

बक्सिङमा नेपालले सात खेलाडी सहभागी गराउनेछ। महिलातर्फ रमिशा श्रेष्ठले ५१ केजी, अस्मिता दुलालले ५४ केजी र कुसुम तामाङले ६५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्।

पुरुषतर्फ चन्द्रबहादुर थापा ५५ केजी, खगेन्द्र रोका मगर ६० केजी, धनबहादुर दर्लामी ७० केजी र रबिन नेपाल ९० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्।

जुडोमा पुरुषतर्फ विकास विक, विशेष विक र सुजन गुरुङ तथा महिलातर्फ निशा श्रेष्ठ, देवकी माया श्रेष्ठ र पुनम श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्।

करातेमा राकेश मानन्धर, मिनबहादुर तामाङ र तेन्जिङ शेर्पाले पुरुषतर्फ तथा निरुपा दोङ तामाङ, एरिका गुरुङ, सानु माया थिङ, एलिसा रास्कोटी मगर र मेघा लिम्बुले महिलातर्फ नेपालको प्रतिनिधित्व गर्नेछन्।

कुस्तीमा सुरेश चुनारा, निखिल राज पटेल, राज यादव र रामकिशोर यादव पुरुषतर्फ तथा सुशिला चन्द र सिवाङ्गी दुबे महिलातर्फ सहभागी हुनेछन्।

आर्चरीमा तिलक पुन मगर र ज्ञानु अवालेले नेपालको प्रतिनिधित्व गर्नेछन्। साइकलिङमा नवराज न्यौपाने र उषा खनाल सहभागी हुनेछन्।

गल्फमा सुवास तामाङ, सद्भाव आचार्य, राहुल विक र तारा कार्कीले प्रतिस्पर्धा गर्नेछन्। नेपालले गल्फमा पनि अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीलाई उतार्ने तयारी गरेको छ।

क्यानोइ स्लालोममा विजय माझी र आशिष रानामगर सहभागी हुनेछन्। दुवैले क्यानोइ तथा कायाक स्लालोमका विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन्।

टेबलटेनिसमा संयोग कपाली, रुबिन महर्जन, गनन्जय दाहाल, नविता श्रेष्ठ, एभाना थापा र योङ्गी पौडेल सहभागी हुनेछन्।

टेनिसतर्फ प्रदीप खड्का, निसान श्रेष्ठ, अभिषेक बास्तोला र शिवाली गुरुङले नेपालको प्रतिनिधित्व गर्नेछन्।

सफ्ट टेनिसमा जर्जिया चौधरी, कमलबहादुर भण्डारी, प्रदीप खत्री र ब्रिजेश पाण्डे सहभागी हुनेछन्।

स्क्वासतर्फ अरहान्त केश सिम्ह र विपना ब्लोनले नेपालको प्रतिनिधित्व गर्नेछन्। दुवैले सिंगल्ससँगै मिक्स डबल्समा पनि प्रतिस्पर्धा गर्नेछन्।

तेक्वान्दोमा अभिषेक बरालले ८० केजीमुनिको विधामा प्रतिस्पर्धा गर्नेछन्। युवराज राना र स्वस्तिका तामाङले पुम्से विधामा नेपालको प्रतिनिधित्व गर्नेछन्।

स्केटबोर्डमा गजेन्द्र बर्देवा र शरदकुमार राई सहभागी हुनेछन्। ब्रेकिङ एन्ड डान्स स्पोर्ट्समा सुनिल बम्जनले नेपालको प्रतिनिधित्व गर्नेछन्।

एसियन गेम्समा विश्वका बलिया खेलाडी तथा टोलीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले नेपाली खेलाडीका लागि प्रतियोगिता सहज हुने छैन। यद्यपि पछिल्लो समय विभिन्न खेलमा नेपाली खेलाडीको अन्तर्राष्ट्रिय उपस्थिति बढ्दै गएको छ।

नेपालका लागि टिम गेममा राम्रो प्रदर्शन गर्नुका साथै व्यक्तिगत खेलमा आफ्नो व्यक्तिगत र राष्ट्रिय प्रदर्शन सुधार गर्नु पनि महत्वपूर्ण लक्ष्य हुनेछ। पदक जित्ने लक्ष्यसँगै एसियाली स्तरमा प्रतिस्पर्धात्मक अनुभव हासिल गर्नु नेपाली टोलीका लागि अर्को महत्वपूर्ण उपलब्धि हुनसक्नेछ।

प्रतियोगितामा सहभागी हुने खेलाडीको तयारी, प्रशिक्षण, व्यवस्थापन र आवश्यक पूर्वाधारलाई प्रभावकारी बनाउने चुनौती सम्बन्धित निकायसामु छ। ठूलो संख्यामा खेलाडी सहभागी गराउनु मात्र पर्याप्त नहुने भएकाले प्रतियोगिताअघि उनीहरूको तयारीको स्तर, खेल सामग्री, अन्तर्राष्ट्रिय अनुभव र मानसिक तयारीलाई समेत प्राथमिकता दिनुपर्ने देखिन्छ।

२०औँ एसियन गेम्समा नेपालको सहभागिता खेलाडीको संख्या र खेलको विविधताका हिसाबले महत्वपूर्ण रहनेछ। अब नेपाली खेलाडीले जापानको प्रतिस्पर्धात्मक मैदानमा आफ्नो तयारीलाई प्रदर्शनमा बदल्दै देशका लागि सम्झनलायक नतिजा निकाल्नुपर्ने चुनौती सामना गर्नेछन्।

सरकारले उठाउँदैछ ४ खर्ब १० अर्ब आन्तरिक ऋण

काठमाडौं। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको ऋण उठाउने तालिकाअनुसार सरकारले आर्थिक वर्षको पहिलो तीन महिनामै अर्थात् साउन, भदौ र असोजमा एक खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको हो।

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त रहेको र बजारमा आन्तरिक ऋणको ब्याजदर तुलनात्मक रूपमा न्यून रहेको अवस्थामा सरकारले वर्षको सुरुदेखि नै ठूलो परिमाणमा ऋण उठाउने रणनीति लिएको हो। अहिले बैंकिङ प्रणालीमा १५ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम रहेको बताइएको छ।

बजारमा पैसा पर्याप्त रहेकाले सरकारी ऋणपत्रमा लगानीका लागि बैंक तथा वित्तीय संस्थाबीच प्रतिस्पर्धा हुने र त्यसबाट सरकारले विगतको तुलनामा कम लागतमा ऋण उठाउन सक्ने अपेक्षा गरिएको छ। हाल आन्तरिक ऋणको औसत ब्याजदर करिब साढे ६ प्रतिशत आसपास रहेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तालिकाअनुसार पहिलो त्रैमासमा उठाइने एक खर्ब रुपैयाँमध्ये १० अर्ब रुपैयाँ ट्रेजरी बिल र ९० अर्ब रुपैयाँ विकास ऋणपत्रबाट जुटाइनेछ।

ट्रेजरी बिल एक वर्षभन्दा कम अवधिको सरकारी ऋणपत्र हो। सरकारले ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिका ट्रेजरी बिल जारी गर्दैछ। छोटो अवधिको वित्तीय आवश्यकता व्यवस्थापन गर्न सरकारले यस्ता ऋणपत्र प्रयोग गर्दै आएको छ।

त्यस्तै, ९० अर्ब रुपैयाँ विकास ऋणपत्रमार्फत उठाइनेछ। विकास ऋणपत्रको ब्याजदर भने पूर्वनिर्धारित नभई बोलकबोल प्रक्रियाबाट तय हुनेछ। लगानीकर्ताले प्रस्ताव गरेको ब्याजदरका आधारमा ऋणको लागत निर्धारण हुन्छ।

बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको अवस्थामा विकास ऋणपत्रमा लगानीका लागि प्रतिस्पर्धा बढेमा सरकारले अपेक्षाकृत कम ब्याजदरमा रकम उठाउन सक्ने सम्भावना रहन्छ।

सरकारले दोस्रो त्रैमासमा ९३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ।

यस अवधिमा १० अर्ब रुपैयाँ ट्रेजरी बिल र ८० अर्ब रुपैयाँ विकास ऋणपत्रबाट उठाउने तालिका छ। बाँकी रकममध्ये २ अर्ब ५० करोड रुपैयाँ नागरिक बचतपत्र र ५० करोड रुपैयाँ वैदेशिक रोजगार बचतपत्रमार्फत उठाउने योजना छ।

नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र पाँच वर्ष अवधिका लागि जारी हुने सरकारी ऋणपत्र हुन्। यी उपकरणमार्फत सरकारले संस्थागत लगानीकर्तासँगै निश्चित वर्गका व्यक्तिगत लगानीकर्ताबाट समेत आन्तरिक स्रोत परिचालन गर्ने गर्छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सरकारले सबैभन्दा ठूलो परिमाणमा आन्तरिक ऋण उठाउने भएको छ।

माघ, फागुन र चैतमा गरी एक खर्ब २० अर्ब रुपैयाँ उठाउने तालिका छ। यसमध्ये ३० अर्ब रुपैयाँ ट्रेजरी बिल र ९० अर्ब रुपैयाँ विकास ऋणपत्रमार्फत जुटाइनेछ।

आर्थिक वर्षको बीचतिर सरकारी खर्च बढ्ने भएकाले पनि यस अवधिमा ठूलो परिमाणमा आन्तरिक स्रोत परिचालन गर्ने योजना बनाइएको हुन सक्छ। विकास निर्माण, सार्वजनिक सेवा तथा अन्य सरकारी दायित्व पूरा गर्न आवश्यक स्रोत व्यवस्थापनमा आन्तरिक ऋण प्रयोग हुँदै आएको छ।

सरकारले आर्थिक वर्षको अन्तिम तीन महिनामा पनि ९७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनेछ।

यसमा ५४ अर्ब रुपैयाँ ट्रेजरी बिल र ४० अर्ब रुपैयाँ विकास ऋणपत्रमार्फत उठाउने तालिका छ। त्यस्तै नागरिक बचतपत्रबाट २ अर्ब ५० करोड तथा वैदेशिक रोजगार बचतपत्रबाट ५० करोड रुपैयाँ उठाउने योजना छ।

यसरी चारवटै त्रैमासको ऋण उठाउने रकम जोड्दा चालु आर्थिक वर्षमा सरकारले कुल ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनेछ।

सरकारले ठूलो परिमाणमा आन्तरिक ऋण उठाउन थालेको समयमा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम उच्च हुनु महत्वपूर्ण कारण हो।

बैंक तथा वित्तीय संस्थासँग लगानी गर्न मिल्ने रकम धेरै हुँदा सरकारी ऋणपत्रमा पनि लगानीको प्रतिस्पर्धा बढ्न सक्छ। सरकारले जारी गर्ने ऋणपत्र तुलनात्मक रूपमा सुरक्षित लगानी उपकरण मानिने भएकाले बैंक तथा वित्तीय संस्थाले आफ्नो अतिरिक्त रकम सरकारी ऋणपत्रमा लगानी गर्न सक्छन्।

त्यसैले बजारमा पर्याप्त तरलता भएको समयमा सरकारले ऋण उठाउँदा ब्याजदर कम हुने सम्भावना रहन्छ। कम ब्याजदरमा ऋण प्राप्त हुँदा सरकारको आगामी वर्षहरूमा तिर्नुपर्ने ब्याज खर्च पनि घट्छ।

सरकारले ऋणको साँवा र ब्याज तिर्न गर्ने खर्चलाई ऋण सेवा खर्च भनिन्छ। आन्तरिक ऋणको लागत कम राख्न सक्दा यही ऋण सेवा खर्च नियन्त्रण गर्न सहयोग पुग्छ।

कम ब्याजदरमा ऋण उठाउन पाउनु तत्कालका लागि सरकारका लागि सकारात्मक भए पनि ठूलो परिमाणमा आन्तरिक ऋण थपिँदै जानुलाई दीर्घकालीन वित्तीय दृष्टिले पनि हेर्नुपर्ने हुन्छ।

सरकारले उठाएको ऋण उत्पादनशील क्षेत्रमा परिचालन गर्न सके त्यसबाट आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना र भविष्यमा राजस्व वृद्धि गर्न सहयोग पुग्न सक्छ। तर ऋणको ठूलो हिस्सा नियमित प्रशासनिक तथा उपभोगमुखी खर्चमा प्रयोग भयो भने त्यसले भविष्यमा सरकारमाथि थप वित्तीय दायित्व सिर्जना गर्न सक्छ।

सरकारले एकातिर विकास तथा सार्वजनिक खर्चका लागि स्रोत जुटाउन आन्तरिक ऋण प्रयोग गरिरहेको छ भने अर्कोतिर पुराना ऋणको साँवा तथा ब्याज भुक्तानीको दायित्व पनि बढ्दै गएको छ। त्यसैले नयाँ ऋणको उपयोग र त्यसबाट प्राप्त हुने आर्थिक प्रतिफल महत्वपूर्ण हुन्छ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम धेरै रहेको अवस्थामा सरकारले आन्तरिक ऋण उठाउँदा त्यसको अर्को प्रभाव निजी क्षेत्रमा पर्न सक्ने विषय पनि महत्वपूर्ण हुन्छ।

बैंक तथा वित्तीय संस्थाले आफ्नो अतिरिक्त रकम सरकारी ऋणपत्रमा लगानी गरेमा सरकारले तत्काल स्रोत पाउँछ। तर निजी क्षेत्रले त्यही रकम ऋणका रूपमा परिचालन गर्न नसकेमा निजी लगानी विस्तारमा केही असर पर्न सक्छ।

यद्यपि अहिले बैंकमा लगानीयोग्य रकम उल्लेख्य मात्रामा थुप्रिएको अवस्थामा सरकारले ऋण उठाउँदैमा निजी क्षेत्रमा जाने कर्जा तत्कालै ठूलो मात्रामा विस्थापित हुन्छ भन्ने निष्कर्ष निकाल्न सकिँदैन। वास्तविक प्रभाव भने ऋण उठाउने परिमाण, बैंकको कर्जा माग र समग्र आर्थिक गतिविधिको अवस्थाले निर्धारण गर्नेछ।

सरकारले वर्षको सुरुदेखि नै ऋण उठाउने तालिका सार्वजनिक गर्नुको उद्देश्य ऋण व्यवस्थापनलाई व्यवस्थित बनाउनु पनि हो। कुन अवधिमा कति रकम उठाउने भन्ने जानकारी पहिले नै दिँदा लगानीकर्ताले आफ्नो लगानी योजना बनाउन सक्छन्।

ऋण उठाउने समयलाई व्यवस्थित गर्न सके सरकारले बजारमा अचानक ठूलो रकम माग गर्ने अवस्था घटाउन सक्छ। यसले ब्याजदर व्यवस्थापनमा समेत सहयोग पुर्‍याउन सक्छ।

सरकारी ऋणपत्रमा लगानी गर्ने बैंक तथा वित्तीय संस्था र अन्य सम्भावित लगानीकर्ताले पनि सरकारले कुन समयमा कति ऋणपत्र निष्कासन गर्न लागेको छ भन्ने आधारमा आफ्नो तरलता व्यवस्थापन गर्न सक्छन्।

चालु आर्थिक वर्षमा उठाइने ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण सरकारी वित्तीय व्यवस्थापनको महत्वपूर्ण स्रोत हुनेछ। सरकारले बजेटमा अनुमान गरेको खर्च र उपलब्ध राजस्वबीचको अन्तर व्यवस्थापन गर्न आन्तरिक ऋण प्रयोग गर्ने गर्छ।

तर ऋण उठाउने मात्रभन्दा पनि त्यसको उपयोग कसरी हुन्छ भन्ने विषय बढी महत्वपूर्ण हुन्छ। पूर्वाधार निर्माण, उत्पादन, रोजगारी र अर्थतन्त्रको क्षमता बढाउने क्षेत्रमा ऋण परिचालन गर्न सके त्यसबाट भविष्यमा प्रतिफल प्राप्त गर्न सकिन्छ।

यसको विपरीत उत्पादन नबढाउने क्षेत्रमा ऋणको प्रयोग बढ्दै गएमा साँवा र ब्याज भुक्तानीको दायित्व भने निरन्तर बढिरहन्छ। त्यसैले सस्तो ब्याजदरमा ऋण उपलब्ध भएको अवसरलाई सरकारले वित्तीय अनुशासन र उत्पादनमुखी खर्चसँग जोड्नुपर्ने देखिन्छ।

अहिले बैंक तथा वित्तीय संस्थामा ठूलो मात्रामा लगानीयोग्य रकम थुप्रिनु र आन्तरिक ऋणको औसत ब्याजदर कम हुनु सरकारका लागि अनुकूल अवस्था हो। यही कारण सरकारले आर्थिक वर्षको सुरुदेखि नै ठूलो रकम आन्तरिक बजारबाट उठाउने योजना अघि सारेको छ।

तर ४ खर्ब १० अर्ब रुपैयाँको नयाँ आन्तरिक ऋणले आगामी वर्षहरूमा सरकारको ऋण सेवा दायित्व पनि बढाउनेछ। त्यसैले अहिलेको सस्तो ब्याजदरको लाभ लिँदै गर्दा ऋणको उपयोगबाट पर्याप्त आर्थिक प्रतिफल सिर्जना गर्ने चुनौती सरकारसामु रहनेछ।

हराएका पूर्वमेयर सिंह जंगलमा मृत भेटिए

कपिलवस्तु। शुक्रबारदेखि सम्पर्कविहीन रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएका छन्।

६५ वर्षीय सिंहको शव आइतबार निरन्तर खोजी गर्ने क्रममा जंगलको बीच भागमा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टका अनुसार सिंहको खोजीका क्रममा जंगलको बीच भागमा शव भेटिएको हो। सिंहले प्रयोग गर्दै आएको मोटरसाइकल पनि यसअघि सोही जंगल क्षेत्रमा फेला परेको थियो।

सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु नगरपालिका–३ स्थित आफ्नो घरबाट निस्किएका थिए। घरबाट निस्किएको करिब डेढ घण्टापछि अर्थात् साढे ३ बजेतिर उनले आफू निकटका केही व्यक्तिलाई फोन गरेर आफू जंगलमा बाटो बिराएको जानकारी गराएका थिए।

त्यसपछि परिवारका सदस्य, आफन्त, स्थानीय र प्रहरी उनको खोजीमा जुटेका थिए। खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा सिंहले प्रयोग गर्ने लु.प्र. ०१–०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो।

मोटरसाइकल भेटिएपछि प्रहरीले सम्भावित क्षेत्रलाई प्राथमिकतामा राखेर खोजीलाई तीव्र बनाएको थियो। यसअघि खोजीका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली र ड्रोनसमेत परिचालन गरिएको थियो।

स्थानीयका अनुसार सिंह आफ्नो समूहले सञ्चालन गर्दै आएको कृषि फार्मतर्फ जाने क्रममा जंगलको बाटो प्रयोग गरेका थिए। छोटो बाटो पर्ने भएकाले उनी जंगल हुँदै गएको र त्यही क्रममा बाटो बिराएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको थियो।

शुक्रबारदेखि नै प्रहरी, स्थानीयवासी र आफन्तले जंगलका विभिन्न क्षेत्रमा खोजी गरिरहेका थिए। निरन्तरको खोजीपछि आइतबार जंगलको बीच भागमा उनको शव फेला परेको हो।

सिंहको मृत्युको कारणबारे भने प्रहरीले तत्काल केही खुलाएको छैन। शव भेटिएपछि घटनास्थलमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। मृत्युको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ।

सिंह कपिलवस्तु नगरपालिकाका पूर्वमेयर हुनुका साथै नेपाली कांग्रेसमा सक्रिय राजनीतिक व्यक्तित्वका रूपमा परिचित थिए। उनको निधनको खबरपछि स्थानीय राजनीतिक तथा सामाजिक क्षेत्रमा शोक छाएको छ।

पूर्वमेयर सिंहको खोजी

काठमाडौं । शुक्रबारदेखि सम्पर्कविहीन रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको खोजी कार्यलाई प्रहरीले तीव्र बनाएको छ। उनको खोजीका लागि तालिमप्राप्त कुकुरसहितको प्राविधिक टोली परिचालन गर्नुका साथै ड्रोनबाट समेत सम्भावित क्षेत्रमा निगरानी थालिएको छ।

कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्टका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलस्थित केनाइन शाखाबाट ट्र्याकिङ डगसहितको टोली ल्याएर जंगल क्षेत्रमा खोजी भइरहेको छ। जंगलको भौगोलिक अवस्था र ठूलो क्षेत्रफलका कारण सम्भावित स्थान पहिचान गर्न प्राविधिक उपकरणको समेत प्रयोग गरिएको उनले बताए।

प्रहरीले केही स्थानमा ड्रोन उडाएर निगरानी गरिरहेको छ। जमिनबाट प्रहरी टोली, स्थानीय तथा आफन्तको सहयोगमा खोजी जारी राखिएको छ भने माथिबाट ड्रोनको सहायताले मानिसको आवतजावत वा अन्य शंकास्पद गतिविधि देखिन सक्ने सम्भावित स्थानमा निगरानी बढाइएको छ।

तर, शनिबार बिहानसम्म सिंहको अवस्था पत्ता लाग्न सकेको छैन। प्रहरीले उनको खोजीलाई निरन्तरता दिइरहेको जनाएको छ।

६५ वर्षीय सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु–३ स्थित आफ्नो घरबाट निस्किएका थिए। उनी घरबाट निस्किएपछि केही समयसम्म सामान्य सम्पर्कमा रहेको भए पनि करिब साढे ३ बजेतिर आफू जंगल क्षेत्रमा बाटो बिराएको जानकारी मोबाइलमार्फत निकट व्यक्तिहरूलाई दिएका थिए।

उनको फोनबाट आएको उक्त जानकारीपछि परिवार तथा आफन्तहरू तत्काल खोजीमा जुटेका थिए। सिंहले आफू जंगलमा रहेको संकेत दिएपछि सम्भावित स्थानतर्फ खोजी केन्द्रित गरिएको थियो।

खोजी गर्दै जाँदा पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा उनले प्रयोग गर्ने मोटरसाइकल भेटिएको प्रहरीले जनाएको छ। लु.प्र. ०१–०१३ प ७९७० नम्बरको मोटरसाइकल जंगल क्षेत्रमा रोकिराखेको अवस्थामा फेला परेको थियो।

मोटरसाइकल भेटिए पनि सिंह भने त्यहाँ थिएनन्। त्यसपछि प्रहरीले आसपासको जंगल, बाटो तथा सम्भावित गन्तव्यतर्फ खोजी विस्तार गरेको हो।

प्रहरीले सिंहको पछिल्लो गतिविधि पत्ता लगाउन आसपासका सीसीटीभी फुटेजसमेत अध्ययन गरिरहेको छ।

कपिलवस्तुको चेतरदाईस्थित सनसाइन सामाजिक विकास केन्द्रमा जडान गरिएको सीसीटीभी फुटेजमा सिंह शुक्रबार दिउँसो करिब ३ बजेर २७ मिनेटमा रामराज पुलसम्म पुगेको देखिएको प्रहरीको भनाइ छ।

त्यसपछि उनी कुन दिशातर्फ गए भन्ने विषय भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन। सीसीटीभीबाट प्राप्त विवरणका आधारमा प्रहरीले उनको सम्भावित यात्रामार्ग पहिचान गर्ने प्रयास गरिरहेको छ।

सिंहको मोबाइल फोनको सम्पर्क तथा अन्य प्राविधिक विवरणसमेत अनुसन्धानमा उपयोग गरिएको प्रहरीको भनाइ छ। उनको अन्तिम सम्पर्क भएको स्थान र त्यसपछि मोबाइलको गतिविधिबारे समेत प्रहरीले अध्ययन गरिरहेको छ।

प्रारम्भिक विवरणअनुसार सिंहले माछापोखरी तथा कुखुरापालनका लागि फार्म निर्माणको काम अघि बढाइरहेका थिए। सोही प्रयोजनका लागि उनी जंगल क्षेत्रतर्फ जाने क्रममा हराएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

यद्यपि, प्रहरीले यही कारणलाई मात्र आधार बनाएर अनुसन्धान सीमित गरेको छैन। सिंह सम्पर्कविहीन हुनुका सम्भावित अन्य कारण र घटनाक्रमलाई समेत खुला राखेर अनुसन्धान भइरहेको एसपी भट्टले बताए।

उनका अनुसार सिंहले जंगलमा बाटो बिराएको बताएका कारण सोही क्षेत्रलाई प्राथमिकतामा राखेर खोजी भइरहेको भए पनि घटनाको वास्तविक अवस्था यकिन नभएसम्म अन्य सम्भावनालाई समेत अनुसन्धानको दायराबाट हटाइएको छैन।

खोजी कार्यमा प्रहरीसँगै स्थानीय बासिन्दा तथा सिंहका आफन्तहरू पनि सहभागी छन्। जंगलको भौगोलिक अवस्था र सिंहले नियमित रूपमा प्रयोग गर्ने बाटोबारे स्थानीयबाट जानकारी लिएर प्रहरीले खोजीको दायरा विस्तार गरिरहेको छ।

प्रहरीले सिंहको व्यक्तिगत गतिविधि, उनी जाने गरेका स्थान, सम्पर्कमा रहेका व्यक्तिहरू तथा शुक्रबार घरबाट निस्किएपछि भएका गतिविधिबारे पनि जानकारी संकलन गरिरहेको जनाएको छ।

एसपी भट्टका अनुसार स्थानीयबाट प्राप्त सूचना, परिवारसँगको समन्वय र प्रविधिबाट प्राप्त विवरणलाई एकीकृत गरेर खोजी तथा अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले सिंह जंगलमै हराएको हुनसक्ने सम्भावनालाई प्राथमिकतामा राखेर खोजी गरिरहेको भए पनि घटनालाई सामान्य रूपमा मात्र नलिएको जनाएको छ।

एसपी भट्टका अनुसार हराएको भनिएको क्षेत्र तथा आसपासमा खोजीलाई तीव्र बनाइएको छ। तालिमप्राप्त कुकुर, ड्रोन, सीसीटीभी फुटेज तथा अन्य प्राविधिक माध्यमको प्रयोग गरेर सम्भावित स्थान पहिचान गर्ने प्रयास भइरहेको छ।

साथै, सिंहको सम्पर्क, यात्रामार्ग र व्यक्तिगत गतिविधिसँग सम्बन्धित विवरण संकलन गरेर घटनाको वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको छ।

शुक्रबार दिउँसो घरबाट निस्किएका सिंहले केही समयपछि आफू जंगलमा बाटो बिराएको जानकारी गराएपछि परिवारले खोजी थालेको थियो। जंगलमा मोटरसाइकल भेटिए पनि उनी फेला नपरेपछि प्रहरीले खोजीलाई थप व्यापक बनाएको हो।

सिंहको अवस्था अझै अज्ञात रहेकाले परिवार र आफन्त चिन्तित छन्। प्रहरीले भने खोजी कार्य जारी रहेको र उपलब्ध सबै स्रोत तथा प्रविधिको प्रयोग गरेर उनको अवस्थाबारे जानकारी हासिल गर्ने प्रयास भइरहेको जनाएको छ।

आहा ! कमलपोखरीमा ढकमक्क कमल

काठमाडौं। भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडेस्थित करिब तीन सय वर्ष पुरानो ऐतिहासिक कमलपोखरी (पलेस्वाँ पुखू) यतिबेला ढकमक्क कमल फूलले सजिएको छ।

वर्षायामसँगै पोखरीमा फुलेका कमलका फूलले यसको प्राकृतिक सौन्दर्य थप आकर्षक बनाएको छ।

ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको यो पोखरी कुनै समय अतिक्रमण र फोहोरका कारण संकटमा परेको थियो। स्थानीय समुदाय र मध्यपुर थिमी नगरपालिकाको पहलमा पोखरी संरक्षण तथा सरसफाइको काम अघि बढाइएपछि यसको पुरानो स्वरूप फर्किन थालेको हो। संरक्षणपछि यस वर्ष पोखरीमा रैथाने मानिने कमलका फूल उल्लेख्य रूपमा फुलेका छन्।

कमलपोखरीमा फुलेका कमल फूल केवल प्राकृतिक सौन्दर्यका लागि मात्र महत्वपूर्ण छैनन्। बोडे क्षेत्रको धार्मिक तथा सांस्कृतिक परम्परासँग पनि यसको गहिरो सम्बन्ध छ। दशैँका अवसरमा यहाँ फुलेका कमलका फूल बोडे लायकू दरबारमा तलेजु भवानीलाई चढाउने परम्परा रहेको स्थानीय बताउँछन्।

त्यस्तै, तलेजुका पुजारीले कमलको पातमा भोज खाने तथा साउनमा आयोजना हुने प्रसिद्ध नीलबाराही नाचका क्रममा पनि यही पोखरीको कमल फूल प्रयोग गर्ने परम्परा रहिआएको छ। यसले पोखरीलाई स्थानीय धार्मिक संस्कार र जात्रासँग जोडेको छ।

कमलपोखरीको संरक्षणको इतिहास पनि सहज भने छैन। करिब चार दशकअघि सार्वजनिक प्रयोजनमा रहेको पोखरीको जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएको थियो। लामो समयसम्म विवादमा रहेको उक्त जग्गालाई चार वर्षअघि अदालतले सार्वजनिक सम्पत्ति भएको फैसला गरेपछि पोखरी सरकारी स्वामित्वमा आएको हो।

त्यसपछि स्थानीय सरकार र समुदायको सक्रियतामा पोखरीको संरक्षण, सरसफाइ तथा व्यवस्थापनमा ध्यान दिइएको छ। संरक्षणको परिणामस्वरूप अहिले पोखरीमा कमल फूल फुलेर यसको प्राकृतिक र सांस्कृतिक पहिचानलाई पुनः जीवन्त बनाएको छ।

स्थानीयका लागि यो पोखरी एउटा जलाशय मात्र नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा हो। पोखरीमा फुलेका कमलका फूलले त्यसको सुन्दरता बढाउनुका साथै बोडेको मौलिक पहिचानसमेत झल्काइरहेका छन्।


तस्बिर : सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी

देवानगञ्ज घटनाबारे अनुसन्धान तीव्र, केही व्यक्ति पक्राउ

काठमाडौं। सुनसरीको देवानगञ्जमा भएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार घटनासँग सम्बन्धित हुन सक्ने केही व्यक्तिलाई प्रारम्भिक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले उनीहरूको नाम, ठेगाना तथा अन्य पहिचान सार्वजनिक गरेको छैन।

डीएसपी खड्काले नियन्त्रणमा लिइएका व्यक्तिहरू घटनामा वास्तवमै संलग्न थिए कि थिएनन् भन्ने विषय अहिले नै निष्कर्षमा नपुगेको बताए। उनीहरूको घटनासँगको सम्बन्ध, भूमिका र गतिविधिबारे सूक्ष्म रूपमा अनुसन्धान भइरहेको उनको भनाइ छ।

उनका अनुसार घटनाको समयमा ती व्यक्तिहरूको गतिविधि के थियो, उनीहरू कुनै समूहसँग जोडिएका थिए कि थिएनन् तथा घटनालाई थप तनावपूर्ण बनाउन उनीहरूको कुनै भूमिका थियो कि थिएन भन्ने विषय अनुसन्धानको दायरामा राखिएको छ।

देवानगञ्जमा भएको घटनापछि सामाजिक सञ्जालमा विभिन्न किसिमका दाबी र सूचनाहरू सार्वजनिक भइरहेका छन्। कतिपय व्यक्तिका तस्बिर तथा नामसमेत घटनासँग जोडेर पोस्ट गरिएको भन्दै प्रहरीले त्यस्ता सामग्रीलाई आधिकारिक तथ्यका रूपमा नलिन आग्रह गरेको छ।

प्रहरी प्रवक्ता खड्काले सामाजिक सञ्जालमा सार्वजनिक भएका सामग्रीकै आधारमा कसैलाई दोषी ठहर गर्न नहुने बताए। घटनाको वास्तविकता अनुसन्धानबाट मात्र पुष्टि हुने भएकाले आधिकारिक निकायबाट आउने सूचनालाई मात्र आधार मान्न उनले आग्रह गरेका छन्।

घटनालाई उत्तेजित बनाउने, आगजनी वा तोडफोड गर्ने तथा अन्य किसिमको हिंसा फैलाउन कसैको भूमिका थियो कि थिएन भन्ने विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ। त्यस्तो गतिविधिमा संलग्नता पुष्टि भएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका कोसी प्रदेश सदस्य दिपेन्द्र मेहताले केही युवाको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनीहरूलाई देवानगञ्ज घटनासँग सम्बन्धित रहेको दाबी गरेका छन्। तर, उनले सार्वजनिक गरेका दाबी र प्रहरीले अनुसन्धानबाट प्राप्त गरेको तथ्यबीचको अवस्था भने स्पष्ट भइसकेको छैन।

प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूको समुदाय, नाम वा अन्य व्यक्तिगत विवरण सार्वजनिक गरेको छैन। अनुसन्धानको क्रममा प्राप्त तथ्य र प्रमाणका आधारमा मात्र घटनामा उनीहरूको वास्तविक संलग्नता यकिन गरिने प्रहरीले जनाएको छ।

देवानगञ्ज घटनापछि उत्पन्न परिस्थितिलाई संवेदनशील रूपमा लिँदै प्रहरीले अफवाह र अपुष्ट सूचनाका कारण थप तनाव सिर्जना हुन नदिन सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। घटनाको वास्तविक कारण, संलग्न व्यक्ति र उनीहरूको भूमिकाबारे अनुसन्धान पूरा भएपछि थप विवरण सार्वजनिक गरिने प्रहरीको भनाइ छ।

सम्राट बस्नेतले मिथोलोजिकल कथामा ‘दुर्गा’ ल्याउँदै

काठमाडौं। निर्देशक सम्राट बस्नेतले आफ्नो आगामी फिल्म ‘दुर्गा’ निर्माण गर्ने घोषणा गरेका छन्। फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै उनले नयाँ चलचित्रबारे जानकारी दिएका हुन्।

मिथोलोजिकल कथामा आधारित हुने बताइएको फिल्मको सार्वजनिक पोस्टरले धार्मिक तथा रहस्यमय कथाको संकेत गरेको छ। पोस्टरमा दुर्गा मन्दिरको अगाडि रातो पहिरनमा एक युवती उभिएको देखिन्छ। मन्दिरको प्रवेशद्वारमा राखिएको त्रिशूलले पनि फिल्ममा धार्मिक पक्ष महत्वपूर्ण हुने अनुमान गर्न सकिन्छ।

निर्माण पक्षले भने अहिलेसम्म फिल्मको कथावस्तु र मुख्य पात्रबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन। कलाकार तथा प्राविधिक टोलीको नाम पनि तत्काल सार्वजनिक नगरिएको जनाइएको छ।

‘कुस्मण्डा’ र ‘ग्लोबल रिल मोसन पिक्चर्स’को ब्यानरमा निर्माण हुने फिल्मको कथा निश्चल ढुंगानाले लेखेका हुन्। निर्माण टोलीका अनुसार चलचित्रको छायांकन करिब ९० दिनमा पूरा गर्ने योजना छ।

फिल्मको छायांकन काठमाडौं, पोखरा र चितवनका विभिन्न स्थानमा गरिनेछ। निर्माण पक्षले असोजको पहिलो सातादेखि छायांकन सुरु गर्ने तयारी गरेको जनाएको छ।

निर्देशक बस्नेतको पछिल्लो चलचित्र ‘लाखे’ केही समयअघि युट्युबमार्फत सार्वजनिक भएको थियो। अब ‘दुर्गा’मार्फत उनले मिथोलोजिकल विधामा नयाँ प्रयोग गर्न लागेका हुन्।\

शिक्षा क्षेत्रमा पुराना समस्या सल्टाउने प्रयास, संवाद र नीतिगत सुधारमा मन्त्रालयको जोड

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले लामो समयदेखि समाधान हुन नसकेका शिक्षा तथा चिकित्सा शिक्षा क्षेत्रका समस्या वार्ता र संवादमार्फत टुंग्याउने प्रयासलाई तीव्र बनाएको जनाएको छ। मन्त्रालयले तत्कालीन विवाद समाधानसँगै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन नीतिगत र संरचनागत सुधारमा समेत जोड दिएको छ।

शिक्षामन्त्री सस्मित पोखरेलले जिम्मेवारी सम्हालेपछि शिक्षा क्षेत्रका प्रमुख समस्या पहिचान गरी सम्बन्धित पक्षसँग छलफल गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयको भनाइ छ। व्यक्तिगत गुनासो वा आन्दोलनका मागलाई छुट्टाछुट्टै सम्बोधन गर्नुको सट्टा दीर्घकालीन रूपमा समस्या समाधान हुने गरी नीति र कानुनमै सुधार गर्नुपर्नेमा मन्त्रालय केन्द्रित रहेको बताइएको छ।

पछिल्लो समय डा. गोविन्द केसीको अनशन, इन्टर्न चिकित्सकको आन्दोलन, विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालमा सञ्चालित शैक्षिक कार्यक्रम तथा शैक्षिक परामर्श संस्थासँग सम्बन्धित विषयमा मन्त्रालयले सरोकारवालासँग छलफल अघि बढाएको छ।

शिक्षा क्षेत्रको कानुनी संरचनामा सुधार गर्ने क्रममा शिक्षा नियमावलीको नवौँ संशोधनमा देखिएका समस्या सम्बोधन गर्न दसौँ संशोधन नियमावली ल्याइएको मन्त्रालयले जनाएको छ।

यसैगरी लामो समयदेखि चर्चामा रहेको नयाँ शिक्षा ऐन निर्माणको प्रक्रिया पनि अघि बढाइएको छ। ऐनको मस्यौदामाथि सरोकारवालाबीच छलफल भइरहेको मन्त्रालयले जनाएको छ।

विदेशी शैक्षिक कार्यक्रमको सञ्चालन तथा नियमन र शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षालाई व्यवस्थित गर्ने सम्बन्धमा पनि नयाँ कानुनी तथा नीतिगत व्यवस्था अघि सारिएको छ।

सरकार र डा. गोविन्द केसीबीच भएको सातबुँदे सहमतिपछि त्यसको कार्यान्वयनका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको छ। कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कम्तीमा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन गर्ने तयारी अघि बढाइएको मन्त्रालयको भनाइ छ।

एमबीबीएसलगायत स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक जनशक्ति, प्राध्यापक तथा पूर्वाधार व्यवस्थापनको कामसमेत अगाडि बढाइएको बताइएको छ।

यसैक्रममा इन्टर्न चिकित्सकको आन्दोलन समाधानका लागि पनि मन्त्रालयले प्रत्यक्ष संवाद गरेको थियो। मन्त्रालय र चिकित्सा शिक्षा आयोगका प्रतिनिधिले आन्दोलनरत पक्षसँग छलफल गरेका थिए। त्यसपछि मन्त्रालयले सार्वजनिक रूपमा वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको थियो।

अनसनरत चिकित्सक डिल्ली हरिजनसँग पाँचबुँदे सहमति भएपछि उनको अनशन पनि अन्त्य भएको मन्त्रालयले जनाएको छ।

इन्टर्न चिकित्सकले उठाउँदै आएको निर्वाह भत्ताको विषयमा पनि मन्त्रालयले ठोस प्रस्ताव अघि बढाएको छ। एमबीबीएस, बीडीएसलगायत एकवर्षे इन्टर्नसीपमा रहेका विद्यार्थीलाई स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउने विषयमा छलफल हुँदैछ।

यसका लागि मन्त्रालय, चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय, निजी मेडिकल तथा डेन्टल कलेजका प्रतिनिधि र आन्दोलनरत चिकित्सकबीच छलफल गर्ने तयारी गरिएको छ। छलफलबाट आएको निष्कर्षलाई चिकित्सा शिक्षा आयोगमा प्रस्तावका रूपमा लैजाने योजना छ।

यो विषय लामो समयदेखि मन्त्रालयको प्राथमिकतामा रहेको बताइएको छ। यसअघि गठित कार्यदलले समेत इन्टर्नसीप चिकित्सा शिक्षाको महत्वपूर्ण हिस्सा भएकाले इन्टर्न चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउन सिफारिस गरेको थियो।

मन्त्रालयले विश्वविद्यालयको प्रशासनिक र शैक्षिक सुधारलाई समेत प्राथमिकतामा राखेको जनाएको छ।

विश्वविद्यालयका उपकुलपति तथा अन्य पदाधिकारी नियुक्तिमा पारदर्शिता र प्रतिस्पर्धा कायम गर्ने, उच्च शिक्षाको गुणस्तर बढाउने तथा विश्वविद्यालय प्रशासनलाई थप उत्तरदायी बनाउने विषयमा काम भइरहेको मन्त्रालयको भनाइ छ।

केही विश्वविद्यालयमा पदाधिकारी नियुक्तिको प्रक्रिया पूरा नभएकाले कतिपय निर्णय कार्यान्वयनमा ढिलाइ भइरहेको मन्त्रालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भए पनि केही महत्वपूर्ण पदमा नियुक्ति हुन बाँकी रहेको छ। काठमाडौँ विश्वविद्यालयमा पनि पदाधिकारी छनोटको प्रक्रिया चलिरहेको बताइएको छ।

एमबीबीएस प्रथम वर्षको प्रश्नपत्र चुहावट प्रकरणपछि परीक्षा प्रणालीको सुरक्षा र विश्वसनीयतामाथि पनि मन्त्रालयले ध्यान दिएको छ।

घटनामा तत्काल अनुसन्धान अघि बढाइएको र संलग्न भनिएका व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढाइएको मन्त्रालयको भनाइ छ। आगामी दिनमा परीक्षा प्रणालीलाई प्रविधिमैत्री, सुरक्षित र पारदर्शी बनाउने विषयमा समेत गृहकार्य भइरहेको बताइएको छ।

विद्यार्थीहरूले उठाएका ब्यारियर प्रणाली, अतिरिक्त शुल्क फिर्ता र शुल्क निर्धारणमा पारदर्शितालगायत विषयमा पनि सम्बन्धित पक्षसँग छलफल जारी रहेको मन्त्रालयले जनाएको छ।

मन्त्री पोखरेलले शिक्षा तथा चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आन्दोलनलाई भन्दा संवादलाई प्राथमिकता दिने बताएका छन्।

वर्षौँदेखि थुप्रिएका समस्या एकैपटक समाधान गर्न कठिन भए पनि क्रमिक रूपमा कानुनी, नीतिगत र संरचनागत सुधार गर्दै जाने मन्त्रालयको योजना छ।

मन्त्रालयले समस्या समाधानका क्रममा विश्वविद्यालयका पदाधिकारी, विद्यालयका प्रधानाध्यापक, शैक्षिक परामर्श क्षेत्रका प्रतिनिधि, मानसिक स्वास्थ्य विज्ञ, सञ्चारकर्मी तथा राजनीतिक दलका प्रतिनिधिसँग समेत छलफल गरिरहेको जनाएको छ।

मन्त्रालयका अनुसार शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि अबको मुख्य चुनौती निर्णय गर्नु मात्र नभई गरिएका सहमति र बनाइएका नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु हो।

त्यसैले संवादबाट निकालिएको निष्कर्षलाई व्यवहारमा उतार्दै शिक्षा क्षेत्रको दीर्घकालीन सुधारतर्फ अघि बढ्ने लक्ष्य मन्त्रालयले लिएको छ।

रास्वपामा बढ्यो टकराव, एक्लिए प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) एक्लिएका छन् । झण्डै दुई तिहाई बहुमतको शक्तिशाली सरकारको नेतृत्व गरिरहेका उनी एक्लिएको सन्देश आफैंले दिएका छन् ।

त्यही कारण सरकारले गरेको काम देखिन केही ढिला हुने तर नराम्रो नहुने भन्दै जनतालाई आश्वास्त पार्ने प्रयास गरेका छन् ।

चिन्ताभावमा उनले यस्तो अभिव्यक्ति त्यसबेला दिए, जतिबेला प्रतिनिधिसभा बैठकमा रास्वपाकै सांसदहरू प्रतिपक्षी दलका सांसदहरू जसरी सरकारको आलोचनामा उत्रिन थालेका छन् ।

पार्टीकै महामन्त्री विपिनकुमार आचार्यले उत्तीर्णाङ्क ४० राख्ने हो भने बालेन सरकार असफल भएको कडा टिप्पणी गरेका छन् ।

कोही एक्लैले देश बनाउन नसक्ने भन्दै प्रधानमन्त्री बालेनको कडा शब्दमा आलोचना गरेका छन् ।

जबकि, गत असारमा प्रधानमन्त्री बालेनले देश बनाउने टोली भन्दै आफू, गृहमन्त्री सुधन गुरुरू र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको तस्बिर राखेर प्रचार गरेका थिए ।

यसपछि सत्तारुढ रास्वपाका सभापति रवि लामिछाने पक्षधर मन्त्री र सांसदहरू बालेनसँग रुष्ट भएका थिए ।

कतिसम्म भने बालेन सरकारमाथि पछिल्ला दिनमा जे जति प्रश्न जनता र प्रतिपक्षबाट उठेका छन्, रास्वपा सभापति रवि लामिछाने र उनीनिकट सांसदहरूले डटेर प्रतिरक्षा गर्न छाडेका छन् ।

यस्तोमा शुक्रबार मध्यरात हुनै लाग्दा फेसबुकमा प्रधानमन्त्री बालेनले आफू एक्लो भएको महसुस गरेका हुन् । यो आफ्नै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र ती दलका सांसदहरूप्रति लक्षित रहेको आकलन र व्याख्या भइरहेका छन् ।

हुन पनि शुक्रबार रास्वपा सांसदहरू मनिष झा, रमेश प्रसाईं, टीका संग्रगौला (ज्वाला)लगायत रास्वपाकै सांसदहरूले संसद्मा सरकारको कामबारे गम्भीर प्रश्न गरेका थिए । पार्टीकै सांसद डा. अमरेशकुमार सिंह विगतदेखि बालेन सरकारको खरो आलोचक छन् ।

सांसद पुरुषोत्तम यादव होस् वा जगदीश खरेल (दोलखा) बालेन सरकारको कडा आलोचक हुन् ।
यसपछि प्रधानमन्त्री बालेनले लेखेका हुन्, ‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला तर गलत हुँदैन । नआत्तिनुहोस् ।’

यसअघि सुकुम्बासीहरूलाई जबर्जस्ती विस्थापित गरेपछि पार्टीका प्रमुख सचेतक प्रदीपचन्द्र परियार र सचेतक क्रान्तिशिखा धितालले नै सरकारको विरोध गरेका थिए । त्यसबेला पनि प्रधानमन्त्री बालेनले सुकुम्बासी नागरिकलाई आश्वास्त पार्नेगरी लेखेका थिए, ‘ढुक्क हुनुहोस् ।’

तर, बालेन सरकार एकपछि अर्को विवादमा तानिएको छ । सार्वजनिक सेवा प्रवाह पूरै भद्रगोल छ । राहदानी लिन युवायुवतीको राहदानी विभागमा दिनहुँ लामो लाइन हुने गरेको छ । साल्ट ट्रेडिङका कार्यालयहरूमा ग्यास लिनेहरूको लाइन झण्डै दुई सातादेखि छ । बजारमा ग्यास हाहाकार कायमै छ ।

सरकारी अस्पतालहरूमा लाइन उस्तै छ । जबकि, बालेन सरकारले सार्वजनिक सेवाबारे भनेको थियो- नो लाइन, अनलाइन । तर, अहिले त्यस्तो छैन ।

किसानले अझै मल पाएका छैनन् । सहकारीपीडितहरूले न्याय पाएका छैनन् । लघुवित्तपीडितहरू आन्दोलनमै छन् । शिक्षकहरू आन्दोलनको सुरमा छन् । विस्थापित सुकुम्बासीहरू पनि आन्दोलनको तयारीमा छन् ।

नेकपा एमालेले सडक संघर्ष गर्ने महासचिव शंकर पोखरेलले बताइसकेका छन् । पछिल्लो एक महिनामा कम्तिमा ८ जनाले आत्मदाह गरे ।

नातावादको विरोध गर्ने बालेन सरकारले नाता र पार्टीसँग आबद्धहरूलाई धमाधम राजनीतिक नियुक्ति दिलाए ।

तराई मधेशमा यही साउन दोस्रो साता भएको धार्मिक तनावमा रास्वपाकै नेता कार्यकर्ता सभापति रवि लामिछानेसँग संवादमा बसेको र संयुक्त विश्व हिन्दु एकता समाजको नाममा गृहमन्त्री सुधन गुरुङलाई मागपत्र बुझाउने देखिएपछि राज्य प्रायोजित धार्मिक तनाव भनेर कतिपयले टिप्पणी गरे ।

यस्तोमा रास्वपा सभापति रवि लामिछाने निकटका नेताहरू बचाउमा उत्रिएनन् । यसबाहेक १७ जेठमा प्रधानमन्त्री बालेनले ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भनेपछि उनको यो अभिव्यक्तिको बचाउमा रास्वपा सांसदहरू उत्रिएका छैनन् ।

जबकि, प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै दिनहुँ प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्री बालेनले क्षमा माग्नुपर्ने र सभामुखले संसदको रेडर्कबाट हटाउनुपर्ने माग गर्छन् । बालेन सरकारप्रति जति प्रश्न उठ्छन्, यसप्रति जवाफदेही सभापति लामिछाने र अन्य नेताहरू छैनन् ।

यस्तोमा उनले लेखे, ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटी होइन ।’ प्रधानमन्त्री बालेनको यस्तो अभिव्यक्तिपछि शनिबार रास्वपा महामन्त्री आचार्यले एक्लैले देश बनाउन नसकिने भन्दै जवाफ फर्काएका छन् ।

उनले भैरहवा पुगेर भने, ‘हामी त्यो सभ्यताको व्यक्ति हो, रत्नाकरलाई वाल्मिकी बनाउने त हाम्रो समाज हो नि त, त्यो कहीँ पुरानाबाट गलत व्यक्ति आएछन् भने पनि रास्वपाका साथीहरूले हेर्नुहोला, सबै जना मिलेर यो देश बनाउने हो ।’

प्रधानमन्त्री बालेननिकट रास्वपा सांसद गणेश कार्कीले भने प्रधानमन्त्रीको पोस्टलाई राजनीतिक अर्थ लगाउनुपर्ने विषय नभएको बताए ।

‘उहाँ कविताहरू पनि लेखिरहने मान्छे हो। यो राजनीतिक अर्थ लगाउनुपर्ने गहन विषय नै केही होइन,’ उनले भने ।

तर, पार्टीभित्रको पछिल्लो गतिविधिले भने सांसद कार्कीको दाबीलाई खण्डित गर्छ । अर्थात् सांसद कार्कीको जवाफलाई सहजै पत्याउने अवस्था देखिँदैन ।

प्रधानमन्त्रीको पोस्टको भोलिपल्ट शनिबार रास्वपा सांसद मनीष झाले सामाजिक सञ्जालबाट जवाफ दिए ।
‘परिवर्तनका लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ,’ उनले लेखे ।

तर, उनले सरकारका केही पक्षमा सुधार आवश्यक रहेको पनि बताए । ‘नियत र आशयमा शंका छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्,’ उनले भने ।

झाको यो प्रतिक्रियालाई पनि पार्टीभित्रको असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ । हुन पनि रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेनबीचको सम्बन्ध पछिल्ला दिनमा ठिकठाक छैन । जुन तराई मधेशमा भएको हालैको धार्मिक तनावमा प्रकट भयो ।

१० साउनको रातिदेखि तनाव हुँदा पनि प्रधानमन्त्री बालेन १४ गते साँझसम्म मौन रहे । जबकि, प्रधानमन्त्रीले तनाव मत्थर गर्न सम्बोधन गर्नुपर्ने आवाज उठ्यो । यस्तोमा सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाए । राष्ट्रपति रामचन्द्र पौडेलसँग संवाद गरे । धार्मिक अगुवाहरूसँग छलफलमा बसे । तराई-मधेशका सांसदहरूसँग बैठक बसे । धार्मिक तनाव मत्थर गर्न भूमिका निर्वाह गरे ।

यसलाई लिएर कतिपयले रविले सत्ताबाहिरबाटै प्रधानमन्त्रीको जिम्मेवारी बहन गरेको चर्चा चल्यो । यसपछि मात्रै प्रधानमन्त्री बालेनले देशवासीको नाममा सम्बोधन गरे । गृहमन्त्री सुधन गुरुङलाई तनावग्रस्त क्षेत्रमा पठाए । अन्ततः तनाव अन्त्य भएको छ।

उसो त यसअघि प्रधानमन्त्री बालेनले मन्त्रिपरिषद् पुनर्गठन गर्न चाहेको चर्चा चलेको थियो । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, कानुनमन्त्री सोविता गौतमलगायतलाई हटाउने भन्दै सभापति रविसँग उनकै निवास बूढानीलकण्ठमा २८ असारमा संवाद गरेका थिए ।

त्यसको दुई दिनपछि रवि र वाग्लेबीच काभ्रेको एक होटलमा लामो संवाद भयो । यी परिघटनाहरूले रास्वपामा सभापति रवि र प्रधानमन्त्री बालेनबीच ठिकठाक छैन भन्ने देखाउने बताइन्छ ।

 

सरकार संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र कमजोर बनाउनेतर्फ उन्मुख : आङ्देम्बे

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारका पछिल्ला गतिविधि र अभिव्यक्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

३२ औँ विश्व आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले सरकारका पछिल्ला गतिविधि संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने दिशातर्फ उन्मुख भएको महसुस हुन थालेको बताएका हुन्।

उनले भनेका छन्, ‘सरकारका पछिल्ला गतिविधि र अभिव्यक्तिहरू संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेभन्दा कमजोर बनाउने दिशातर्फ त उन्मुख छैनन् भन्ने महसुस हुन थालेको छ।’

आङ्देम्बेले संविधानले सुनिश्चित गरेका राजनीतिक उपलब्धि कुनै दल वा सरकारको दया र कृपाबाट प्राप्त नभएको बताएका छन्। उनका अनुसार संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा पहिचान र सांस्कृतिक अधिकार नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धि हुन्।

उनले संघीयतालाई बोझका रूपमा चित्रित गर्ने, प्रदेश संरचनामाथि प्रश्न उठाउने तथा समानुपातिक प्रतिनिधित्व कमजोर बनाउने बहसप्रति पनि असन्तुष्टि जनाएका छन्।

‘कमजोरी छन् भने सुधार गरौँ। समस्या छन् भने समाधान गरौँ। तर जनताको संघर्षबाट प्राप्त उपलब्धि नै मास्ने कुरा स्वीकार्य हुन सक्दैन,’ आङ्देम्बेले भनेका छन्।

आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति र अधिकार व्यवहारमै सुनिश्चित हुनुपर्ने उनको भनाइ छ। राज्यका सबै तहमा न्यायपूर्ण प्रतिनिधित्व र पहिचानसहितको संघीयता संस्थागत गर्नुपर्ने उनले बताएका छन्।

आङ्देम्बेले विश्व आदिवासी दिवसले समावेशी, समान र न्यायपूर्ण नेपाल निर्माणको संकल्पलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै सम्पूर्ण आदिवासी जनजाति समुदायमा शुभकामना दिएका छन्।

 

‘अनलाइन होइन, लाइनको लाम’

काठमाडाैं। चुनावताका बालेन्द्र शाहको देश बनाउने टोलीले एउटा आकर्षक नारा अघि सारेको थियो-‘अब लाइन होइन, अनलाइन।’ सरकारी सेवा लिन नागरिकले घन्टौं लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने, प्रविधिको प्रयोगमार्फत घरबाटै सेवा उपलब्ध गराउने र सरकारी कार्यालयमा हुने झन्झट घटाउने वाचा त्यसको मूल सन्देश थियो।

तर सरकार गठन भएको केही समयमै राजधानी काठमाडौंमा देखिएका दृश्यले उक्त नारालाई नै गिज्याइरहेका छन्। फेसबुक, भाषण र सरकारी प्रचार सामग्रीमा ‘अनलाइन’ सुनिन्छ, तर नागरिकको दैनिक जीवनमा भने ‘लाइन’ मात्रै होइन, लाइनको लामै-लाम देखिन्छ।

संघीय राजधानी काठमाडौंका सडक, सरकारी कार्यालय, अस्पताल र अत्यावश्यक वस्तु बिक्री गर्ने डिपोहरूमा देखिने भीडले सरकारको डिजिटल सेवा र वास्तविक सेवाप्रवाहबीचको दूरी प्रस्ट पारिरहेको छ। नागरिकको समय बचाउने भनिएको अनलाइन प्रणालीले अपेक्षित रूपमा काम नगर्दा सेवाग्राही अझै पनि घन्टौं लाइन बसेर आफ्नो पालो कुर्न बाध्य छन्।

ग्यासका लागि झरीमा लाइन

यसको पछिल्लो उदाहरण अत्यावश्यक खाना पकाउने ग्यास हो। टेकुस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको डिपोमा बिहानैदेखि ग्यास लिन पुगेका उपभोक्ताको लामो लाइन देखिन्छ। झरी परिरहेको अवस्थामा समेत नागरिक सिलिन्डर बोकेर घन्टौं पालो कुरिरहेका छन्।

कोही काँधमा सिलिन्डर बोकेर उभिएका छन्, कोही थकित भएर सिलिन्डरमाथि बसेका छन्। घरमा खाना पकाउन आवश्यक ग्यास लिनसमेत नागरिकले आफ्नो दिनको ठूलो हिस्सा लाइनमा बिताउनुपर्ने अवस्था छ।

सरकारले आपूर्ति सहज रहेको दाबी गरे पनि बजारमा एक्कासि बढेको माग, वितरण प्रणालीको कमजोरी र आपूर्तिबीचको असन्तुलनको प्रत्यक्ष भार भने उपभोक्ताले बोकिरहेका छन्।

अर्थात्, नागरिकलाई ‘डिजिटल नेपाल’को सपना देखाउने सरकारका अगाडि अहिले पनि एउटा सामान्य प्रश्न उभिएको छ-खाना पकाउने ग्यासका लागि समेत नागरिकले घन्टौं लाइन बस्नुपर्ने अवस्थालाई कसरी डिजिटल सेवाको उपलब्धि मान्ने ?

पासपोर्टमा पनि लाइन

ग्यासमा मात्रै होइन, विदेश जान आवश्यक पर्ने पासपोर्ट बनाउन त्रिपुरेश्वरस्थित राहदानी विभाग पुग्ने सेवाग्राहीको अवस्था पनि उस्तै छ।

राहदानी विभागको प्रवेशद्वारदेखि बाहिर सडकसम्मै सेवाग्राहीको भीड देखिन्छ। आवेदन बुझाउनेको छुट्टै लाइन, बायोमेट्रिकका लागि अर्को लाइन र तयार भएको राहदानी लिन आउनेको अर्को लाइन।

सरकारले नागरिकलाई घरबाटै सेवा लिन सकिने, अनलाइन आवेदन दिन सकिने र प्रविधिमैत्री सरकारी सेवा विस्तार गरिएको बताइरहँदा अन्तिम चरणमा नागरिकले कार्यालयमै पुगेर घन्टौं पालो कुर्नुपर्ने बाध्यता हटेको छैन।

अनलाइन आवेदन भरे पनि सेवा लिन भौतिक रूपमा कार्यालय पुग्नुपर्ने अवस्था कायमै छ। त्यसपछि सुरु हुन्छ अर्को लाइन।

यसले एउटा गम्भीर प्रश्न उठाउँछ-अनलाइन आवेदनलाई मात्रै अनलाइन सेवा भन्न मिल्छ कि नागरिकले वास्तविक रूपमा सेवा पाउँदासम्मको सम्पूर्ण प्रक्रिया नै सहज र डिजिटल हुनुपर्छ ?

अस्पतालमा पनि लाइनबाट छुटकारा छैन

सरकारी सेवाको सबैभन्दा संवेदनशील क्षेत्र स्वास्थ्य हो। बिरामी अस्पताल पुग्दा उसको प्राथमिकता उपचार हुनुपर्ने हो, लाइनमा बस्नु होइन। तर काठमाडौंका ठूला सरकारी अस्पतालको दृश्य हेर्दा अवस्था त्यस्तो छैन।

वीर अस्पताल, सिभिल अस्पताल, ट्रमा सेन्टरलगायतका अस्पतालमा बिरामी र आफन्तको भीड देखिन्छ। ओपीडी टिकट लिन लाइन, स्वास्थ्य बिमाको प्रक्रिया पूरा गर्न लाइन, रिपोर्ट देखाउन लाइन र विभिन्न परीक्षण तथा सेवाका लागि फेरि अर्को लाइन।

बिरामी मात्रै होइन, वृद्धवृद्धा, अशक्त र उनीहरूका आफन्तसमेत घन्टौं पालो कुरिरहेका हुन्छन्।

अस्पतालका कर्मचारीहरूले कतिपय अवस्थामा सर्भर सुस्त हुँदा सेवा प्रभावित हुने गरेको बताउने गरेका छन्। अर्थात्, नागरिकलाई लाइनबाट मुक्त गर्न प्रयोग गरिएको प्रविधि नै प्रभावकारी नहुँदा अन्ततः सेवाग्राही फेरि त्यही पुरानै लाइनमा फर्किनुपरेको छ।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा समेत प्रविधि नागरिकको सहजताको माध्यम बन्न नसकेपछि ‘अनलाइन सेवा’को सरकारी दाबीमाथि प्रश्न उठ्नु स्वाभाविक हो।

समस्या प्रणालीको 

यहाँ प्रश्न नागरिक लाइनमा बसे कि बसेनन् भन्ने मात्रै होइन। मूल प्रश्न राज्यको सेवा प्रवाह कति प्रभावकारी, सहज र नागरिकमैत्री भयो भन्ने हो।

प्रविधि प्रयोग गरेर अनलाइन फाराम भर्न सक्नु मात्रै डिजिटल सेवा होइन। नागरिकले घरबाटै प्रक्रिया सुरु गरेर अनावश्यक रूपमा कार्यालय धाउन नपर्ने, एउटै कामका लागि पटक–पटक लाइन बस्न नपर्ने र सेवा लिन घन्टौं समय खर्च गर्न नपर्ने अवस्था सिर्जना गर्नु वास्तविक डिजिटल सेवा हो।

तर अहिलेको अवस्था हेर्दा सरकारी डिजिटल प्रणाली र भौतिक सेवा प्रवाहबीच समन्वय कमजोर देखिन्छ। कतै सर्भरको समस्या छ, कतै आवेदनको चाप व्यवस्थापन हुन सकेको छैन, कतै जनशक्ति पर्याप्त छैन र कतै सेवा दिने प्रणाली नै पुरानै शैलीमा चलिरहेको छ।

त्यसको प्रत्यक्ष परिणाम नागरिकले भोगिरहेका छन्।

फेसबुकमा डिजिटल नेपाल, यथार्थमा वास्तविक नेपाल 

सरकारले सामाजिक सञ्जालमा डिजिटल सेवा, प्रविधिमैत्री शासन र नागरिकमैत्री प्रशासनका प्रचार सामग्री सार्वजनिक गरिरहन्छ। सरकारी कार्यालयका वेबसाइटमा अनलाइन सेवा उपलब्ध भएको देखिन्छ। भाषणमा प्रविधिको प्रयोगबाट सेवा प्रवाहमा क्रान्तिकारी परिवर्तन ल्याइएको दाबी गरिन्छ।

तर फेसबुकको स्क्रिनबाट बाहिर निस्किएर सडकमा हेर्ने हो भने दृश्य फरक छ।

ग्यास डिपोमा सिलिन्डर बोकेर उभिएका नागरिक छन्। राहदानी विभागमा कागजात बोकेर लाइनमा बसेका युवा छन्। अस्पतालमा रिपोर्ट र स्वास्थ्य बिमाको फाइल बोकेर पालो कुरिरहेका बिरामी छन्।

त्यसैले अहिलेको काठमाडौंका लाइनहरुले सरकारलाई एउटा प्रश्न सोधिरहेको प्रश्न सोधिरहेका छन्, ‘अनलाइन कहाँ छ ?’

सरकारले देखाउने अनलाइन र नागरिकले भोग्ने लाइनबीचको दूरी जति ठूलो हुन्छ, सरकारी दाबीमाथिको अविश्वास पनि त्यति नै बढ्दै जान्छ।

‘लाइन होइन अनलाइन’ नारा कहाँ हरायो ?

चुनावताका ‘लाइन होइन अनलाइन’ भन्ने नाराले धेरै नागरिकमा आशा जगाएको थियो। पुरानो प्रशासनिक झन्झट हट्ने, सरकारी कार्यालय धाउनुपर्ने बाध्यता कम हुने र प्रविधिमार्फत राज्य नागरिकको घरदैलोमा पुग्ने अपेक्षा गरिएको थियो।

तर अहिले अवस्था उल्टो देखिन थालेको छ।

नागरिकले सरकारसँग ठूलो कुरा मागेका छैनन्। उनीहरूलाई समयमा ग्यास चाहिएको छ, सहज रूपमा पासपोर्ट चाहिएको छ, राष्ट्रिय परिचयपत्र चाहिएको छ, अस्पतालमा उपचार र परीक्षणका लागि सहज सेवा चाहिएको छ।

यी आधारभूत सेवा लिनसमेत नागरिकले आफ्नो समय, श्रम र धैर्य खर्च गर्नुपर्ने अवस्था छ भने सरकारको डिजिटल सेवाको सफलताको मापन कहाँबाट गर्ने ?

अझ विडम्बना के भने, लाइनमा बसेका नागरिकमध्ये धेरैले सरकारले अनलाइन सेवा विस्तार गरेको कुरा सामाजिक सञ्जालमै पढेका हुन्छन्। तर वास्तविक सेवा लिन कार्यालय पुग्दा उनीहरू त्यही पुरानो लाइनमा भेटिन्छन्।

प्रचारभन्दा परिणाम आवश्यक

डिजिटल सेवा नागरिकको सुविधा बढाउन प्रयोग गरिने माध्यम हो, सरकारको प्रचार सामग्री सजाउन प्रयोग गरिने शब्दावली होइन।

सरकारले साँच्चै ‘लाइन होइन अनलाइन’ बनाउन चाहन्छ भने पहिले अहिले देखिएका लाइनको कारण पहिचान गर्नुपर्ने हुन्छ। कहाँ सर्भरले काम गरेन ? कहाँ जनशक्ति पुगेन ? कुन सेवाको मागअनुसार क्षमता विस्तार भएन ? कुन प्रक्रियालाई अनलाइनमा लैजान सकिएन ? र अनलाइनमा गएपछि पनि नागरिक किन कार्यालयमै पुग्नुपर्‍यो ?

यी प्रश्नको जवाफ खोजेर प्रणाली सुधार नगरेसम्म फेसबुकमा जतिसुकै डिजिटल नेपालको प्रचार गरे पनि नागरिकको अनुभव परिवर्तन हुने छैन।

किनकि नागरिकले सरकारलाई फेसबुकमा होइन, सरकारी कार्यालयको लाइनमा उभिँदा मूल्यांकन गर्छ।

आज काठमाडौंका ग्यास डिपो, राहदानी विभाग र अस्पतालका लाइनले सरकारलाई त्यही मूल्यांकन सुनाइरहेका छन्।

नारा ‘लाइन होइन अनलाइन’ थियो। तर नागरिकको अनुभव भने अझै ‘अनलाइन होइन, लाइनको लामै-लाम’ बनेको छ।

र यसले सरकारको डिजिटल सेवाको दाबीलाई मात्रै होइन, गफ र कामबीचको दूरीलाई समेत छर्लंग पारिदिएको छ।

ब्रह्माण्डका यी दुई रहस्य

काठमाडाैं। ब्रह्माण्ड सुन्दर छ। अनगिन्ती तारा, ग्रह, आकाशगंगा र रहस्यमय खगोलीय घटनाले भरिएको यो संसार जति आकर्षक छ, त्यति नै भयावह सम्भावनाहरू पनि बोकेर बसेको छ। हामी पृथ्वीमा सुरक्षित जीवन बिताइरहेका छौँ, तर ब्रह्माण्डको विशालताभित्र यस्ता घटना छन्, जसले हाम्रो अस्तित्वलाई क्षणभरमै समाप्त गर्न सक्ने सैद्धान्तिक सम्भावना वैज्ञानिकहरूले चर्चा गरेका छन्।

तीमध्ये एउटा हो-अत्यन्त शक्तिशाली गामा-रे विस्फोट।

हामीले आकाशमा देख्ने ताराहरू सबै एउटै आकारका हुँदैनन्। सूर्यभन्दा कैयौँ गुणा ठूला र विशाल ताराहरू पनि ब्रह्माण्डमा छन्। यस्ता विशाल ताराले आफ्नो जीवनको अन्त्यतिर इन्धन समाप्त गरेपछि भयानक विस्फोट अर्थात् सुपरनोभा अनुभव गर्न सक्छन् र अन्ततः ब्ल्याक होल बन्न सक्छन्।

ब्ल्याक होल आफैँमा निकै रहस्यमय वस्तु हो। यसको गुरुत्वाकर्षण यति शक्तिशाली हुन्छ कि एक निश्चित सीमाभित्र प्रवेश गरेको प्रकाशसमेत बाहिर निस्कन सक्दैन।

तर केही विशाल ताराको मृत्युका क्रममा अझ शक्तिशाली घटना हुन सक्छ-गामा-रे बर्स्ट।

गामा-रे बर्स्ट ब्रह्माण्डमा देखिने सबैभन्दा शक्तिशाली विस्फोटमध्ये एक हो। केही अवस्थामा विशाल ताराको केन्द्र भत्किँदा अत्यन्त तीव्र ऊर्जाका जेटहरू अन्तरिक्षतर्फ निस्कन सक्छन्। यी जेटहरू प्रकाशको गतिनजिकको वेगमा यात्रा गर्न सक्छन्।

कल्पना गर्नुस्, एउटा ताराको मृत्यु हुँदा निस्किएको ऊर्जा अन्तरिक्षमा साँघुरो किरणका रूपमा हजारौँ प्रकाशवर्ष टाढासम्म फैलिरहेको छ। यदि यस्तो जेटको दिशा पृथ्वीतर्फ पर्यो भने यसको विकिरणले पृथ्वीको वातावरणमा गम्भीर प्रभाव पार्न सक्ने सम्भावना वैज्ञानिक अध्ययनको विषय बनेको छ।

तर यसको अर्थ पृथ्वीमाथि कुनै पनि बेला गामा-रे बर्स्ट आएर हामीलाई नष्ट गरिदिन्छ भन्ने होइन। यस्ता घटनाहरू अत्यन्त दुर्लभ छन् र पृथ्वीलाई प्रत्यक्ष असर गर्ने सम्भावना अझै अनिश्चित तथा अत्यन्त कम मानिन्छ।

अब विशाल ताराबाट अत्यन्त सानो संसारतर्फ जाऔँ-परमाणु र क्वान्टम क्षेत्र।

हामीले पदार्थलाई परमाणुबाट बनेको भनेर पढेका छौँ। परमाणुभित्र प्रोटोन, न्युट्रोन र इलेक्ट्रोन हुन्छन्। अझ गहिराइमा जाँदा क्वार्कजस्ता आधारभूत कणहरू भेटिन्छन्।

यी कणहरूले द्रव्यमान कसरी प्राप्त गर्छन् भन्ने प्रश्नको उत्तरमा आउँछ-हिग्स फिल्ड।

हिग्स फिल्डलाई ब्रह्माण्डभर फैलिएको एउटा आधारभूत क्वान्टम क्षेत्रका रूपमा बुझ्न सकिन्छ। हिग्स बोसोनको खोजले यो सिद्धान्तलाई महत्वपूर्ण रूपमा पुष्टि गरेको थियो।

तर यहाँ एउटा रोचक वैज्ञानिक प्रश्न उठ्छ-हिग्स फिल्ड पूर्ण रूपमा स्थिर अवस्थामा छ कि अझ गहिरो ऊर्जा अवस्थामा जान सक्ने सम्भावना छ?

वैज्ञानिकहरूले हाम्रो ब्रह्माण्डको अवस्था ‘मेटास्टेबल’ हुन सक्ने सम्भावनाबारे सैद्धान्तिक अध्ययन गरेका छन्। यसको अर्थ अहिलेको अवस्था स्थिरजस्तो देखिए पनि अझ न्यून ऊर्जा भएको अर्को अवस्था सैद्धान्तिक रूपमा सम्भव हुन सक्छ।

यदि त्यस्तो परिवर्तन सम्भव भयो भने के होला?

सैद्धान्तिक रूपमा, नयाँ अवस्था प्रकाशको गतिमा फैलिने ‘बबल’ जस्तै अगाडि बढ्न सक्छ। त्यसले पार गर्ने क्षेत्रका भौतिक नियम र कणहरूको गुणधर्म परिवर्तन हुन सक्छन्। अर्थात्, हामीले अहिले बुझेको पदार्थ, तारा, ग्रह र जीवनको संरचना नै कायम नरहन सक्छ।

तर सबैभन्दा महत्वपूर्ण कुरा यो केवल सैद्धान्तिक सम्भावना हो। यस्तो घटना कहिले हुन्छ भन्ने कुनै प्रमाण छैन, र मानिसले त्यसलाई भविष्यमा अनुभव गर्ने सम्भावना कति छ भन्ने पनि निश्चित छैन।

यी दुवै सम्भावनाले एउटा कुरा सम्झाउँछन्-ब्रह्माण्ड हाम्रो कल्पनाभन्दा धेरै ठूलो, शक्तिशाली र रहस्यमय छ।

एकातिर विशाल ताराको मृत्युबाट निस्कन सक्ने अविश्वसनीय ऊर्जा छ। अर्कोतिर, पदार्थको सबैभन्दा सूक्ष्म तहमा रहेका क्वान्टम क्षेत्रहरूले ब्रह्माण्डको आधारभूत संरचनाबारे अझै अनुत्तरित प्रश्नहरू बोकेका छन्।

तर डराउनुपर्नेभन्दा यी विषयले विज्ञानको अर्को सुन्दर पक्ष देखाउँछन्। हामी ब्रह्माण्डको एउटा सानो ग्रहमा बसेर त्यसको सबैभन्दा ठूलो रहस्य बुझ्ने प्रयास गरिरहेका छौँ।

सायद ब्रह्माण्डको सबैभन्दा ‘डरलाग्दो’ तथ्य यही हो-हामीले यसको बारेमा धेरै कुरा थाहा पाइसकेका छौँ, तर अझै कति कुरा थाहा छैन भन्ने कुरा नै हामीलाई थाहा छैन।

आफ्नै सांसदको प्रश्नमा घेरिँदै बालेन सरकार

काठमाडाैं। वालेन्द्र शाह नेतृत्वको सरकार पछिल्लो समय प्रतिपक्षी दलभन्दा बढी आफ्नै पार्टीका सांसदहरूको प्रश्न र आलोचनाले घेरिन थालेको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सरकारको कार्यशैली, जनजीविकाका समस्या, ग्यास अभाव, स्वास्थ्य सेवा, रोजगारीदेखि राज्य सञ्चालनको तौरतरिकासम्म प्रश्न उठाए।

सत्तारूढ दलकै सांसदहरूबाट सरकारको कामकारबाहीमाथि सार्वजनिक रूपमा प्रश्न उठ्न थालेपछि यसलाई सामान्य असन्तुष्टिभन्दा पनि सरकारभित्र बढ्दै गएको दबाबका रूपमा हेर्न थालिएको छ।

विशेषगरी सरकार गठनका बेला नागरिकका दैनिक समस्या तत्काल समाधान गर्ने, सरकारी सेवा सहज बनाउने र पुरानो शैलीको शासन अन्त्य गर्ने दाबी गरिएको थियो। तर अहिले नागरिकले भोगिरहेका समस्या संसदमा आफ्नै सांसदहरूले उठाउन थालेपछि सरकारका घोषणासँग व्यवहारबीचको अन्तरबारे प्रश्न उठेको छ।

रास्वपाका निवर्तमान प्रवक्ता तथा सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नभए पनि काम गर्ने ढंगमा कमजोरी देखिएको टिप्पणी गरे।

उनको भनाइको आशय सरकारसँग काम गर्ने इच्छा र उद्देश्य भए पनि राज्य सञ्चालनको व्यवहारिक पक्षमा कमजोरी देखिएको भन्ने थियो। नेतृत्वले आफूलाई के थाहा छैन भन्ने कुरा पहिचान गरेर सिक्न सक्ने क्षमता राख्नुपर्ने उनको जोड थियो।

झाको यस्तो टिप्पणीलाई सरकारभित्रबाट आएको महत्वपूर्ण राजनीतिक सन्देशका रूपमा हेरिएको छ। किनकि सत्तापक्षका सांसदले नै सरकारको नियत खराब नभए पनि कार्यशैलीमा कमजोरी रहेको स्वीकार गर्नु भनेको सरकारका लागि आत्मसमीक्षाको विषय हो।

उनले सरकारलाई मधेस, प्रवास र निजी क्षेत्रलाई राज्य सञ्चालनका महत्वपूर्ण साझेदारका रूपमा लिएर अघि बढ्नसमेत सुझाव दिए। सरकारप्रति यी समूहमा विश्वासको वातावरण कमजोर हुँदै गएको उनको संकेत थियो।

सरकारमाथि सबैभन्दा तीखो प्रश्न भने एलपी ग्यासको अभावलाई लिएर उठ्यो।

खाना पकाउने ग्यासका लागि नागरिकले घन्टौं लाइन बस्नुपरेको विषय अहिले काठमाडौंका सडकदेखि संसदसम्म पुगेको छ। यही अवस्थालाई लिएर रास्वपाका सांसद रमेश प्रसाईंले सरकारमाथि तीखो प्रश्न गरे।

चुनावका बेला रास्वपाले अघि सारेको ‘नो लाइन, वन्ली अनलाइन’ नारालाई स्मरण गराउँदै प्रसाईंले अहिले नागरिक ग्यासका लागि दिनरात लाइन बस्नुपर्ने अवस्था आएको बताए।

उनको प्रश्न केवल ग्यास अभाव किन भयो भन्नेमा सीमित थिएन। उनले प्रधानमन्त्री र मन्त्रीहरूको घरमा पनि ग्यासको अभाव छ कि छैन भनेर प्रश्न गर्दै सरकार र नागरिकले भोगिरहेको समस्याबीच दूरी त छैन भन्ने प्रश्न उठाए।

यदि सरकारले पर्याप्त ग्यास आयात भइरहेको दाबी गर्छ भने बजारमा अभाव किन देखियो ? यदि कृत्रिम अभाव वा कालोबजारी भएको हो भने त्यसमा संलग्नलाई कारबाही गर्न सरकारलाई केले रोकिरहेको छ ? भन्ने प्रश्न पनि उनले उठाए।

यो प्रश्नले सरकारको आपूर्ति व्यवस्थापन मात्रै होइन, सरकारको आफ्नै चुनावी नारामाथि समेत प्रश्न खडा गरेको छ।

प्रसाईंले नागरिकले नयाँ सरकारबाट केवल नयाँ अनुहार खोजेको नभई नयाँ चरित्र र नयाँ व्यवहार खोजेको तर्क गरे।

यही बिन्दु अहिले सरकारका लागि सबैभन्दा चुनौतीपूर्ण देखिन्छ।

सरकार गठनका बेला नयाँ राजनीतिक शक्तिबाट नागरिकले पुराना सरकारभन्दा फरक कामको अपेक्षा गरेका थिए। प्रशासनिक झन्झट हटाउने, सेवा सहज बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र नागरिकका आधारभूत समस्या तत्काल सम्बोधन गर्ने अपेक्षा थियो।

तर ग्यासका लागि लामो लाइन, सरकारी सेवामा ढिलासुस्ती, अस्पतालमा भीड र विभिन्न क्षेत्रमा देखिएका जनजीविकाका समस्याले नयाँ सरकार पनि पुरानै शैलीतर्फ त गइरहेको छैन भन्ने प्रश्न उठ्न थालेको छ।

रास्वपाका अर्का सांसद अमरेश सिंहले पनि सरकारमाथि जनजीविकाकै विषयमा प्रश्न उठाए।

उनले गरिबले उपचार नपाएको, गृहिणीले ग्यास नपाएको, युवाले रोजगारी नपाएको र किसानले मल नपाएको विषय संसदमा उठाए।

उनको प्रश्नको केन्द्रमा एउटा ठूलो विषय थियो-राज्य संयन्त्र नागरिकका समस्याप्रति कति संवेदनशील छ ?

सरकारको मूल्यांकन ठूला भाषण, नीति र योजनाबाट मात्रै नभई नागरिकले दैनिक जीवनमा कस्तो सेवा पाइरहेका छन् भन्ने आधारमा हुनुपर्ने उनको भनाइले सरकारमाथि थप दबाब सिर्जना गरेको छ।

स्वास्थ्य उपचार नपाएर वृद्ध दम्पतीले आत्महत्या गरेको भनिएको घटनासमेत संसदमा उठ्यो। यस्ता घटनालाई सामान्य घटनाका रूपमा लिन नहुने भन्दै राज्य नागरिकको जीवनसँग जोडिएका समस्यामा संवेदनशील हुनुपर्ने आवाज सांसदहरूले उठाए।

संसदमा रास्वपाकै सांसदहरूले नागरिकको जीवनसँग जोडिएको अर्को संवेदनशील विषय पनि उठाए—विपन्न नागरिकको अन्तिम संस्कार।

राज्यले नागरिकबाट जीवनभर विभिन्न शीर्षकमा कर लिने तर मृत्यु भएपछि अन्तिम संस्कारका लागि समेत विपन्न परिवारले समस्या भोग्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने माग सांसदहरूले गरे।

यसले सरकारमाथिको आलोचना केवल ग्यास वा महँगीमा सीमित नरहेको देखाउँछ। नागरिकको जन्मदेखि मृत्यु र स्वास्थ्यदेखि रोजगारीसम्म राज्यको जिम्मेवारीबारे सत्तापक्षकै सांसदहरूले प्रश्न उठाइरहेका छन्।

बालेन सरकारमाथि रास्वपा सांसदहरूको प्रश्न प्रतिनिधिसभामा मात्रै देखिएको होइन।

अघिल्लो दिन बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पनि रास्वपाकै सांसदहरूले प्रधानमन्त्री शाहले अघि सारेको राष्ट्रिय सेवा दल विधेयकमाथि कडा प्रश्न उठाएका थिए।

विधेयकमा समावेशिता र संवैधानिक व्यवस्थाको विषयलाई लिएर प्रश्न उठाउँदै सांसदहरूले सरकारको प्रस्तावित नीतिमाथि नै असहमति जनाए।

सत्तारूढ दलका सांसदहरूबाटै प्रधानमन्त्रीले अघि सारेको विधेयकमाथि प्रश्न उठ्नुले सरकारभित्र नीतिगत विषयमा समेत पूर्ण एकरूपता नरहेको संकेत गरेको छ।

रास्वपा सांसदहरूको पछिल्लो सक्रिय आलोचनालाई पार्टीभित्रको राजनीतिक समीकरणसँग जोडेर पनि हेरिएको छ।

रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह पक्षबीच मतभेद रहेको चर्चा राजनीतिक वृत्तमा चलिरहेका बेला आफ्नै सांसदहरूले सरकारको कार्यशैलीमाथि लगातार प्रश्न उठाउन थालेका छन्।

यद्यपि, हरेक सांसदको आलोचनालाई पार्टीभित्रको गुटगत संघर्षकै परिणाम मान्न सकिँदैन। जनजीविकाका वास्तविक समस्या संसदमा उठाउनु सांसदहरूको जिम्मेवारी पनि हो।

तर एउटै सत्तारूढ दलका धेरै सांसदहरूले एकै समयमा सरकारको कार्यक्षमता, सेवा प्रवाह र जनजीविकाका मुद्दामा प्रश्न उठाउनु भने राजनीतिक रूपमा अर्थपूर्ण देखिन्छ।

विशेषगरी चुनावअघि नागरिकलाई देखाइएको सपना र सरकार बनेपछि नागरिकले भोगिरहेको वास्तविकताबीचको अन्तर बढ्दै गयो भने असन्तुष्टि अझै चर्किन सक्छ।

बालेन सरकारका लागि अहिलेको सबैभन्दा ठूलो राजनीतिक चुनौती प्रतिपक्षी दलहरू मात्रै होइनन्। आफ्नै सांसदहरूले संसदमा उठाइरहेका प्रश्न पनि सरकारका लागि उत्तिकै महत्वपूर्ण चुनौती बनेका छन्।

ग्यासको लाइनमा बसेका नागरिक, उपचारका लागि अस्पताल धाइरहेका बिरामी, रोजगारी खोजिरहेका युवा, मलको प्रतीक्षामा रहेका किसान र आधारभूत सेवाका लागि सरकारी कार्यालय धाइरहेका नागरिकका समस्या जब सत्तापक्षकै सांसदहरूले संसदमा उठाउन थाल्छन्, त्यसले सरकारलाई आफ्नै प्रतिबद्धता सम्झाउने काम गर्छ।

सरकारले यी प्रश्नलाई आलोचना मात्रै ठानेर पन्छाउने कि सुधारको अवसरका रूपमा लिने भन्ने कुरा अब महत्वपूर्ण हुनेछ। जनताले सरकारको मूल्यांकन भाषणबाट होइन, ग्यासको लाइन, अस्पतालको सेवा, रोजगारीको अवसर र सरकारी कार्यालयमा पाउने व्यवहारबाट गर्नेछन्।

हिमगंगा माविको विकासमा पार्टी, जात र धर्मभन्दा माथि उठेर काम गर्नुपर्नेमा सांसद कार्कीको जोड

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता प्रकाश सिंह कार्कीले हिमगंगा माध्यमिक विद्यालयको शैक्षिक तथा समग्र विकासका लागि पार्टी, जात र धर्मभन्दा माथि उठेर सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्।

हिमगंगा पूर्वविद्यार्थी समाज, नेपालको तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सांसद कार्कीले हिमगंगा माविबाट विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने जनशक्ति उत्पादन भएको बताए। उनले विद्यालयका पूर्वविद्यार्थीहरू डाक्टर, पाइलट, शिक्षक तथा राजनीतिज्ञलगायत विभिन्न क्षेत्रमा पुगेको उल्लेख गरे।

विद्यालयको उन्नतिका लागि पूर्वविद्यार्थी समाजले थालेको पहल सराहनीय रहेको भन्दै कार्कीले त्यसमा आफूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए।

उनले विद्यालयको विकासका लागि संघीय तथा प्रदेश सांसदसँगै स्थानीय तहका जनप्रतिनिधिहरूले पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए।

‘शिक्षा सुधारका लागि पार्टी, जात, धर्म केही पनि छुट्याउनु हुँदैन,’ उनले भने, ‘विद्यालयको उन्नतिका लागि हामी सबै मिलेर काम गर्नुपर्छ।’

कार्कीले व्यक्तिगत रूपमा पनि विद्यालयको विकास र उन्नयनका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता जनाए। विद्यालयसँग सम्बन्धित कुनै समस्या वा आवश्यकता भए स्वतन्त्र रूपमा आफूलाई जानकारी गराउन आग्रह गर्दै उनले आफ्नो तर्फबाट गर्न सकिने सबै प्रयास गर्ने बताए।

‘आउने दिनमा पनि विद्यालयलाई एकदम स्वतन्त्र रूपमा केही कुरा छ भने भन्नुहोला। विद्यालयको उन्नयनका लागि मेरो तर्फबाट हुने सबै प्रयत्न गर्नेछु,’ उनले भने।

हिमगंगा माविको विकासमा सक्दो सहयोग गर्ने प्रदेश सांसद राजभण्डारीको प्रतिबद्धता

काठमाडौं । कोशी प्रदेशका प्रदेशसभा सदस्य तथा पूर्वसामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले हिमगंगा माध्यमिक विद्यालयको विकासका लागि आफूले सक्दो सहयोग गर्न सधैँ तयार रहेको बताएका छन्।

हिमगंगा पूर्वविद्यार्थी समाज, नेपालको तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनलाई सम्बोधन गर्दै राजभण्डारीले हिमगंगा पूर्वविद्यार्थी समाजले लिखुपिके गाउँपालिकाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए।

उनले शिक्षामा जात, भाषा र धर्मको कुनै विभेद हुन नहुने धारणा राख्दै हिमगंगा पूर्वविद्यार्थी समाजको उद्देश्य नै समाजलाई अघि बढाउनु रहेको बताए।

‘शिक्षामा कुनै पनि किसिमको जात, भाषा, धर्म हुँदैन,’ उनले भने, ‘हिमगंगा विद्यार्थी समाजको उद्देश्य नै त्यहाँको समाजलाई अगाडि पुर्‍याउनु हो।’

राजभण्डारीले हिमगंगा माविको शैक्षिक तथा भौतिक विकासका लागि विगतमा पनि आफूले सहयोग गर्दै आएको र आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।

उनले गाउँको विकासमा राजनीतिक दलको विभाजनभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिए। ‘यो पार्टी, त्यो पार्टी नभनीकन विगतमा गाउँको विकासका लागि काम गरेको छु,’ उनले भने।

प्रदेशसभामा प्रतिनिधित्व गर्दा विद्यालय तथा गाउँको विकासका लागि बजेट ल्याउन आफूले निरन्तर पहल गरेको दाबी गर्दै राजभण्डारीले आवश्यक बजेट विनियोजनका लागि प्रदेशसभामा संघर्ष गर्नुपरेको समेत बताए।

‘प्रदेशसभामा लडेर, झुकेर त्यहाँ बजेट हाल्ने काम मैले पनि गरेको छु,’ उनले भने।

शिक्षा ऐन संशोधनमा पनि पूर्वविद्यार्थी समाजले भूमिका खेल्नुपर्छ : सांसद तामाङ

काठमाडौं । कोशी प्रदेशसभा सदस्य डोल्मा तामाङले शिक्षा क्षेत्रको सुधार र समाज परिवर्तनका लागि हिमगंगा पूर्वविद्यार्थी समाजले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएकी छन्।

हिमगंगा पूर्वविद्यार्थी समाज, नेपालको तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सांसद तामाङले शिक्षा समाजको ‘तेस्रो आँखा’ भएको बताइन्। उनले मानव सेवाभन्दा ठूलो धर्म अर्को नभएको उल्लेख गर्दै सबैले सकारात्मक कर्ममार्फत समाज निर्माणमा योगदान गर्नुपर्ने धारणा राखिन्।

‘संसारको सबैभन्दा ठूलो धर्म मानव सेवा हो। हामी सबैले राम्रो कर्म गर्नुपर्छ,’ उनले भनिन्, ‘शिक्षा समाजको तेस्रो आँखा हो। यी सबै कुरामा हिमगंगा पूर्वविद्यार्थी समाजले योगदान गर्नुपर्दछ।’

तामाङले शिक्षा क्षेत्रको विषयवस्तु र शिक्षा ऐनमा आवश्यक सुधार तथा संशोधनका लागि समेत पूर्वविद्यार्थी समाजले भूमिका खेल्नुपर्ने बताइन्। समयअनुकूल शिक्षा प्रणाली विकास गर्न शिक्षा ऐनसँगै पाठ्यक्रम तथा शैक्षिक विषयवस्तुमा समेत परिवर्तन आवश्यक रहेको उनको भनाइ छ।

‘शिक्षा क्षेत्रको विषयवस्तु र शिक्षा ऐन संशोधन गर्न पनि तपाईंहरूको भूमिका रहोस्। शिक्षा ऐन परिवर्तन गर्नुपर्छ, विषयवस्तु परिवर्तन गर्नुपर्छ,’ उनले भनिन्।

उनले शिक्षा क्षेत्रको सुधारसँगै समग्र सामाजिक परिवर्तनका लागि समाजले विशेष योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरिन्। हिमगंगा माध्यमिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूले आफ्नो विद्यालयप्रति गर्व गर्न सक्ने वातावरण निर्माण गर्न पूर्वविद्यार्थी समाजले काम गर्नुपर्ने उनको धारणा थियो।

‘यहाँ उपस्थित भएका मानिसले म हिमगंगा माविमा पढेको भनेर गर्व गर्न सक्ने वातावरण यो समाजले निर्माण गरोस्,’ तामाङले भनिन्।

हिमगंगा पूर्वविद्यार्थी समाजले छात्रवृत्ति र प्रविधि विस्तारलाई निरन्तरता दिने

काठमाडौं। हिमगंगा पूर्वविद्यार्थी समाजका अध्यक्ष भरतबहादुर बस्नेतले समाजलाई थप सुदृढ बनाउँदै विद्यालयको शैक्षिक विकास र लिखुपिकेको सामाजिक रूपान्तरणमा योगदान गर्ने बताएका छन्।

हिमगंगा पूर्वविद्यार्थी समाज, नेपालको तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले समाज विश्वासको जगमा उभिएको बताए। स्रोतसाधनको सीमितताका बाबजुद छोटो समयमै समाजले महत्वपूर्ण उपलब्धि हासिल गरेको उनको भनाइ छ।

उनले समाजले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै कम्प्युटर तथा ल्यापटप उपलब्ध गराउँदै आएको जानकारी दिए। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए।

‘समाजको अध्यक्षका रूपमा यहाँ उपस्थित हुन पाउँदा मैले गर्व गरेको छु। यो समाज विश्वासको जगमा उभिएको छ,’ बस्नेतले भने, ‘स्रोतसाधन नहुँदा पनि यो समाजले छोटो समयमा ठूला उपलब्धि हासिल गरेको छ।’

बस्नेतले समाजको अक्षयकोषलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताए। विद्यालयमा प्रविधिको विस्तारका लागि समेत समाजले निरन्तर काम गर्ने उनको भनाइ छ।

उनले हिमगंगा माध्यमिक विद्यालयमा अध्ययन गरेका देश तथा विदेशमा रहेका सम्पूर्ण पूर्वविद्यार्थीलाई एउटै सञ्जालमा जोड्ने योजना रहेको बताए। पूर्वविद्यार्थीको ज्ञान, सीप र स्रोतलाई विद्यालय तथा समुदायको विकासमा उपयोग गर्ने उद्देश्य रहेको उनले स्पष्ट पारे।

अध्यक्ष बस्नेतले हिमगंगा पूर्वविद्यार्थी समाजको मुख्य उद्देश्य सामाजिक परिवर्तन र लिखुपिकेको समृद्धि रहेको बताए।

‘हाम्रो यो समाजको उद्देश्य भनेको सामाजिक परिवर्तन हो। हामी लिखुपिकेको समृद्धि चाहन्छौँ,’ उनले भने।

विद्यालय विकासमा राजनीतिक विभाजन त्यागेर सबै एकजुट हुनुपर्छ : प्रधानाध्यापक बस्नेत

काठमाडौं । हिमगंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक हेम बस्नेतले विद्यालयको विकासका लागि राजनीतिक दलको विभाजनभन्दा माथि उठेर सबै बौद्धिक तथा पूर्वविद्यार्थीहरू एकजुट हुनुपर्ने बताएका छन्।

हिमगंगा पूर्वविद्यार्थी समाज, नेपालको तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनलाई सम्बोधन गर्दै प्रधानाध्यापक बस्नेतले विद्यालयको विकासमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे। उनले हिमगंगा पूर्वविद्यार्थी समाजले हिमगंगा माविको विकासमा मात्रै नभई समग्र लिखुपिके गाउँपालिका तथा अन्य विद्यालयका लागि समेत काम गर्दै आएको बताए।

तर, समाजले अझै पर्याप्त रूपमा गति लिन नसकेको भन्दै उनले यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सबै पूर्वविद्यार्थीलाई जोड्नुपर्नेमा जोड दिए।

उनका अनुसार सन् २००९ देखि हालसम्म हिमगंगा माध्यमिक विद्यालयमा अध्ययन गरेका जोसुकै व्यक्ति पनि पूर्वविद्यार्थी समाजमा आबद्ध हुन सक्नेछन्।

‘विद्यालयको विकासका लागि कसैले पनि एमाले, कांग्रेस भन्नुहुँदैन,’ बस्नेतले भने, ‘विद्यालयको विकासका लागि सबै बौद्धिक व्यक्तित्वहरू एकजुट हुनुपर्दछ।’

उनले पूर्वविद्यार्थी समाजलाई विद्यालयको विकासमा मात्र सीमित नराखी समग्र सामाजिक विकासको आधारका रूपमा स्थापित गर्नुपर्ने बताए। समाजले समुदायमा देखिने विभिन्न विसंगति तथा विकृतिविरुद्ध समेत आवाज उठाउँदै सामाजिक रूपान्तरणमा भूमिका खेल्नुपर्ने उनको भनाइ छ।

‘यो समाजलाई समाजको सामाजिक विकासको आधार बनाउनुपर्दछ। यो समाज समाजमा हुने विसंगतिहरूका विरुद्धमा लड्नुपर्दछ,’ बस्नेतले भने।

हिमगंगा पूर्वविद्यार्थी समाजले शैक्षिक उन्नयनमा काम गर्नुपर्छ : सांसद उप्रेती

काठमाडौं । नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य रिना उप्रेतीले हिमगंगा पूर्वविद्यार्थी समाजले विद्यालयको हितसँगै लिखुपिकेको समग्र शैक्षिक उन्नयनका लागि काम गर्नुपर्ने बताएकी छन्।

हिमगंगा पूर्वविद्यार्थी समाज, नेपालको तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सांसद उप्रेतीले समाजको नेतृत्वमा जो आए पनि हिमगंगा माध्यमिक विद्यालयको हकहित र विकासलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरिन्।

उनले पूर्वविद्यार्थी समाजमार्फत आपसी आत्मीयता र सहकार्य बढाउँदै विद्यालय तथा समुदायको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरिन्।

‘हिमगंगा विद्यार्थी समाजको अध्यक्ष जो भए पनि विद्यालयको हक र हितका लागि काम गर्नुहोला,’ उनले भनिन्, ‘हिमगंगा विद्यार्थी समाजमार्फत आत्मीयता बढाउँदै सहयोग गर्छ भन्ने विश्वास गरेको छु।’

सांसद उप्रेतीले समाजले हिमगंगा माध्यमिक विद्यालयको विकासमा मात्र सीमित नभई लिखुपिकेको समग्र शैक्षिक उन्नयनका लागि समेत प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।

त्यस्तै, उनले देश तथा विदेशमा रहेका सम्पूर्ण लिखुपिकेवासीलाई एउटै सञ्जालमा जोडेर समाजको विकासमा उनीहरूको ज्ञान, सीप र अनुभव उपयोग गर्नुपर्ने धारणा राखिन्।

२/३ करोड गरेर भएपनि विधालय भवन बनाउँछौँ : गाउँपालिका अध्यक्ष कार्की

काठमाडौं। लिखुपिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेतले गाउँपालिकाको समग्र विकासका लागि शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन्।

हिमगंगा पूर्वविद्यार्थी समाज, नेपालको तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले लिखुपिकेका सबै नागरिकलाई जोड्ने प्रयास गरेकोमा पूर्वविद्यार्थी समाजलाई धन्यवाद दिइन्। उनले गाउँपालिकाभित्रका विद्यालयहरूको वृद्धि र विकासमा

समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्।

‘सबैभन्दा ठूलो विकास भनेकै शिक्षा हो। शिक्षा विकास भयो भने मात्रै समाज परिवर्तन हुन्छ,’ उनले भनिन्।

अध्यक्ष कार्कीले शिक्षा विद्यार्थी जीवनमा मात्र सीमित नहुने बताउँदै जन्मदेखि मृत्युसम्म निरन्तर सिकाइ आवश्यक रहेको धारणा राखिन्। उनले गाउँपालिकाका सबै नागरिकलाई समान व्यवहार गर्दै आएको दाबी गरिन्।

‘यो समाजका सबै मान्छे र लिखुपिकेका सबै जनता मेरा लागि बराबर हुन्। मैले कसैलाई कुनै किसिमको भेदभाव गर्दिनँ र गरेको छैन,’ उनले भनिन्।

हिमगंगा माध्यमिक विद्यालयको विकासका लागि गाउँपालिकाले सक्दो सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने उनले बताइन्। विद्यालय, शिक्षक र विद्यार्थीलाई उपलब्ध गराइने सेवा तथा सुविधामा गाउँपालिकाले कुनै विभेद नगरेको उनको भनाइ छ।

अध्यक्ष कार्कीका अनुसार हिमगंगा माविको नयाँ भवन निर्माणका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ। विद्यालय भवन निर्माणका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले गाउँपालिका  को वार्षिक बजेटबाट मात्रै तत्काल सम्पूर्ण निर्माण सम्पन्न गर्न कठिन रहेको उनले बताइन्।

‘वार्षिक बजेट नै पालिकाको ६-७ करोड हुन्छ। दुई वर्षको बजेट हाल्दा पनि भवन बनाउन पुग्दैन,’ उनले भनिन्, ‘त्यसमा पनि २-३ करोड गर्दै हामीले विद्यालयको विकासका लागि काम गरिरहेका छौँ।’

उनले गाउँपालिकाले शिक्षालाई प्रविधिमैत्री तथा डिजिटल रूपमा रूपान्तरण गर्ने प्रयाससमेत गरिरहेको जानकारी दिइन्। विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै डिजिटल प्रविधिको प्रयोग बढाउनेतर्फ पालिकाले काम गरिरहेको उनको भनाइ छ।

दलित समुदायका थर सूचीकरणका लागि मन्त्रालयले माग्यो राय-सुझाव

काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय दलित आयोगबाट सिफारिस गरिएका दलित समुदायका थरहरूको सूची सार्वजनिक गर्दै सरोकारवालासँग राय, सुझाव तथा प्रतिक्रिया माग गरेको छ।

राष्ट्रिय दलित आयोगले प्रचलित कानुनी व्यवस्थाअनुसार दलित समुदायका थर सूचीकरणका लागि सिफारिससहितको विवरण मन्त्रालयमा पठाएको थियो। उक्त सिफारिसलाई अन्तिम रूप दिनुअघि सम्बन्धित समुदाय, व्यक्ति, संघसंस्था, विज्ञ तथा आमनागरिकको धारणा बुझ्ने उद्देश्यले मन्त्रालयले सूची सार्वजनिक गरेको जनाएको छ।

मन्त्रिपरिषद्बाट थर सूचीकरणसम्बन्धी निर्णय हुनुअघि आवश्यक सुझाव संकलन गर्ने उद्देश्यले मन्त्री सीता बादीको निर्देशनमा आयोगबाट सिफारिस भएका थरहरूको विवरण सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आफ्नो वेबसाइटमा सूची राख्दै त्यसमा कुनै त्रुटि, सुझाव वा आपत्ति भए दुई दिनभित्र जानकारी गराउन अनुरोध गरेको छ।

राय तथा सुझाव मन्त्रालयको इमेलसँगै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री बादी र उनको सचिवालयको इमेलमा पठाउन सकिने व्यवस्था गरिएको छ।

मन्त्रालयका अनुसार प्राप्त सुझाव तथा प्रतिक्रियामाथि आवश्यक अध्ययन गरिनेछ। त्यसबाट प्राप्त निष्कर्षलाई थर सूचीकरणसम्बन्धी आगामी प्रक्रियामा समेटेर मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरिएको छ।

‘कांग्रेसको आत्मा र आदर्श नमारी पार्टीलाई एकताबद्ध बनाउँछौँ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको मूल विचार, आत्मा र आदर्शलाई जोगाउँदै कांग्रेसलाई एकताबद्ध बनाउने बताएका छन्।

सर्वोच्च अदालतको पछिल्लो आदेशपछि कांग्रेसभित्र एकताका लागि संस्थापन पक्षमाथि दबाब बढिरहेका बेला थापाले पार्टीको आत्मा र विचार समाप्त पारेर गरिने एकता आफूहरूलाई स्वीकार्य नहुने बताएका हुन्।

भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै थापाले विशेष महाधिवेशनबाट पारित पार्टीको विचार र निर्णयलाई कमजोर नबनाई कांग्रेसलाई थप एकताबद्ध बनाउने बताए। उनका अनुसार पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेतृत्वले सबै पक्षसँग संवाद अघि बढाउनेछ।

थापाले यसै विषयमा छलफल गर्न शुक्रबार नै पदाधिकारी बैठक बस्ने र त्यसपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट आवश्यक निर्णय लिइने जानकारी दिए।

उनले कांग्रेसलाई सबै कार्यकर्ताले गर्व गर्न सक्ने पार्टीका रूपमा विकास गर्ने दाबी पनि गरे। कांग्रेसप्रतिको आफ्नो राजनीतिक आस्था खुलेर व्यक्त गर्न सक्ने र पार्टीको सदस्य हुनुमा गर्व गर्ने वातावरण निर्माण गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो।

‘कसैले कांग्रेसको झोले होस् भन्दा छाती पिटेर म कांग्रेसको झोले हुँ भन्न सक्ने गर्विलो कांग्रेस बनाउँछौँ,’ थापाले भने।

पार्टीभित्रको पछिल्लो विवादका बीच थापाको यस्तो अभिव्यक्तिलाई कांग्रेसमा एकता कायम गर्ने प्रयाससँगै विशेष महाधिवेशनबाट अघि सारिएको राजनीतिक दिशालाई निरन्तरता दिने संकेतका रूपमा हेरिएको छ।

 

आठ दलले बनाए ‘अग्रगामी मोर्चा’

काठमाडौं। संविधान संशोधन, संघीयता सुदृढीकरण, सामाजिक न्याय र समावेशी लोकतन्त्रलाई मुख्य राजनीतिक एजेन्डा बनाउँदै आठ राजनीतिक दलले ‘अग्रगामी मोर्चा’ गठन गरेका छन्।

जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खम्बुवान राष्ट्रिय मोर्चाले संयुक्त अवधारणा–पत्र सार्वजनिक गर्दै मोर्चा गठनको घोषणा गरेका हुन्।

मोर्चाले लोकतान्त्रिक तथा प्रगतिशील शक्तिहरूलाई एउटै राजनीतिक मोर्चामा संगठित गर्ने लक्ष्य लिएको छ। अवधारणा–पत्रमा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको संरक्षणसँगै लोकतान्त्रिक गणतन्त्र र संघीय व्यवस्थालाई थप मजबुत बनाउने प्रतिबद्धता जनाइएको छ।

राज्यसत्ताको केन्द्रीकरण तथा अधिनायकवादी प्रवृत्तिको अन्त्य गर्दै स्वतन्त्रता, समानता र सामाजिक न्यायमा आधारित शासन व्यवस्था निर्माण गर्ने मोर्चाको दाबी छ। नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक स्वरूपलाई स्वीकार गर्दै पछाडि पारिएका वर्ग तथा समुदायको उत्थानलाई प्राथमिकतामा राख्ने उल्लेख गरिएको छ।

मोर्चाले मधेसी, आदिवासी जनजाति, थारू, दलित, महिला, मुस्लिम तथा पिछडिएका समुदायलगायत सीमान्तकृत समूहको राज्यका सबै तहमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न संघर्ष गर्ने जनाएको छ। पारदर्शी, जवाफदेही र भ्रष्टाचारमुक्त शासनसँगै शिक्षा, स्वास्थ्य र रोजगारीलाई राष्ट्रिय प्राथमिकतामा राख्ने उसको नीति छ।

नेपालको विविधतालाई राष्ट्रिय शक्तिका रूपमा उपयोग गर्दै ‘एकताभित्र विविधता’को अवधारणालाई अघि बढाउने मोर्चाले जनाएको छ। जात, जाति, वर्ग, लिंग र धर्मका आधारमा हुने विभेद अन्त्य गरी सामाजिक न्याय सुनिश्चित गर्ने विषयलाई पनि उसले आफ्नो प्रमुख एजेन्डामा राखेको छ।

संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहलाई आवश्यक अधिकार तथा स्रोत उपलब्ध गराउनुपर्ने मोर्चाको धारणा छ। प्रदेशमा स्वायत्त शासन र संघमा साझा शासनको अवधारणालाई अघि बढाउने बताउँदै उसले संसद् तथा प्रदेशसभामा जनसंख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरेको छ।

महिला र दलित समुदायका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि अवधारणा–पत्रमा समेटिएको छ।

वर्तमान संविधानका केही संरचनात्मक कमजोरी र अस्पष्टताका कारण संघीयता कार्यान्वयनमा समस्या देखिएको निष्कर्ष निकाल्दै मोर्चाले संविधान संशोधन, परिमार्जन वा आवश्यक परे पुनर्लेखनसम्मको विषय उठाएको छ। राजनीतिक स्थिरता, समान प्रतिनिधित्व, प्रदेश पुनर्संरचना र न्याय प्रणाली सुधारका लागि संविधानमा परिवर्तन आवश्यक रहेको उसको दाबी छ।

आर्थिक क्षेत्रमा कृषि आधुनिकीकरण, जलविद्युत्, पर्यटन र औद्योगिकीकरणलाई प्राथमिकता दिँदै उच्च तथा दिगो आर्थिक वृद्धि हासिल गर्ने रणनीति मोर्चाले अघि सारेको छ। युवा बेरोजगारी घटाउन राष्ट्रिय युवा रोजगारी कार्यक्रम, सीप विकास तथा स्वदेशमै रोजगारी सिर्जनामा जोड दिइएको छ।

प्राकृतिक स्रोत संरक्षण र जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्ने विषयलाई पनि मोर्चाले आफ्नो आर्थिक तथा विकास नीतिमा समेटेको छ।

भूमिहीन र सुकुमबासी समस्याको दीर्घकालीन समाधानका लागि वास्तविक सुकुमबासी पहिचान गरी वैज्ञानिक तथा मानवीय दृष्टिकोणबाट समस्या सम्बोधन गर्ने जनाएको छ।

परराष्ट्र नीतिमा भने नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै छिमेकीसहित सबै मुलुकसँग समानता, पारस्परिक सम्मान र सहकार्यमा आधारित सम्बन्ध विस्तार गर्ने नीति लिने मोर्चाले जनाएको छ।

मोर्चाको नेतृत्व सहमतिबाट चयन गर्ने व्यवस्था गरिएको छ। सहमति बन्न नसके आलोपालो प्रणाली अपनाउन सकिने उल्लेख छ। निर्णय गर्दा पहिलो प्राथमिकता सर्वसम्मतिलाई दिइने र त्यसबाट निष्कर्ष ननिस्किए लोकतान्त्रिक प्रक्रियाबाट निर्णय गरिने अवधारणा–पत्रमा उल्लेख गरिएको छ।

मोर्चामा आबद्ध दलहरूले साझा न्यूनतम कार्यक्रम तथा मोर्चाबाट भएका निर्णय पालना गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। यससँगै आठ दलले संविधान संशोधनदेखि संघीयता, प्रतिनिधित्व, सामाजिक न्याय र आर्थिक विकाससम्मका साझा मुद्दामा संयुक्त राजनीतिक गतिविधि अघि बढाउने आधार तयार गरेका छन्।

प्लुटो : जसलाई ग्रहको सूचीबाट हटाइयो

काठमाडौं। कुनै समय सौर्यमण्डलको नाम लिँदा नौवटा ग्रहको सूची सुनाइन्थ्यो। बुधदेखि प्लुटोसम्म। विद्यालयका किताबमा यही क्रम हुन्थ्यो, विज्ञानका सामान्य ज्ञानमा पनि यही पढाइन्थ्यो।

त्यो सूचीमा सबैभन्दा टाढा थियो -प्लुटो अर्थात यम ग्रह। 

तर अहिले सौर्यमण्डलमा आठ ग्रह मात्र छन्। प्लुटो ग्रहको सूचीमा छैन। सन् २००६ मा अन्तर्राष्ट्रिय खगोलीय संघ (आईएयू) ले ग्रहको परिभाषा परिवर्तन गरेपछि प्लुटो ‘बौना ग्रह’को वर्गमा पुग्यो।

यसले आखिर प्लुटोमा त्यस्तो के भयो, जसका कारण उसले ग्रहको दर्जा गुमायो?  प्रश्न जन्मायो। 

सौर्यमण्डलका केही ग्रह मानिसले प्राचीन समयदेखि नै आकाशमा नाङ्गो आँखाले देख्दै आएका थिए। तर टेलिस्कोपको विकासपछि मानिसको नजर अझ टाढासम्म पुग्न थाल्यो।

१३ मार्च १७८१ मा बेलायती खगोलविद् सर विलियम हर्सेलले टेलिस्कोपबाट अरुण अर्थात् युरेनस पत्ता लगाए। यो खोजले सौर्यमण्डलबारे मानिसको बुझाइमा ठूलो परिवर्तन ल्यायो।

तर अरुणको खोजपछि वैज्ञानिकको जिज्ञासा झन् बढ्यो। अरुणको कक्षामा देखिएका केही असामान्यताले त्यसको बाहिर अर्को ठूलो पिण्ड हुन सक्ने अनुमान जन्मायो।

गणितीय गणना र निरन्तर खोजपछि २३ सेप्टेम्बर १८४६ मा वरुण अर्थात् नेप्च्युन पत्ता लाग्यो।

वरुणको कक्षामा समेत अज्ञात पिण्डको प्रभाव हुन सक्ने अनुमान गरियो। त्यसपछि वैज्ञानिकको ध्यान वरुणभन्दा बाहिर केन्द्रित भयो। त्यहाँ हुन सक्ने अज्ञात ग्रहलाई अस्थायी रूपमा ‘प्लानेट एक्स’ भन्न थालियो।

क्लाइड विलियम टोमबागको जन्म ४ फेब्रुअरी १९०६ मा अमेरिकाको इलिनोइसमा भएको थियो। किसान परिवारमा हुर्किएका टोमबागलाई सानैदेखि आकाश र ताराप्रति विशेष रुचि थियो।

स्रोत र सुविधा सीमित भए पनि उनले आफैं टेलिस्कोप बनाएर आकाशको अध्ययन गर्थे। उनले तयार पारेका ग्रह तथा ताराका चित्र र अध्ययनले खगोलविद्हरूको ध्यान खिच्यो।

सन् १९२९ मा उनी एरिजोनास्थित लोवेल वेधशालामा पुगे। त्यहाँ उनलाई वरुणभन्दा बाहिर हुन सक्ने ‘प्लानेट एक्स’ खोज्ने जिम्मेवारी दिइयो।

खोजी निकै धैर्य माग्ने खालको थियो।

टोमबागले आकाशको एउटै क्षेत्रका तस्बिर पटक–पटक खिच्थे। त्यसपछि ती तस्बिरलाई तुलना गर्थे। ताराहरूको भीडमा आफ्नो स्थान परिवर्तन गरिरहेको कुनै सानो पिण्ड भेटिन्छ कि भनेर उनी दिनहुँजसो अध्ययनमा जुट्थे।

महिनौँको मेहनतपछि त्यो दिन आयो।

१८ फेब्रुअरी १९३० मा टोमबागले ताराहरूको तुलनामा स्थान परिवर्तन गरिरहेको एउटा पिण्ड फेला पारे।

‘प्लानेट एक्स’ भेटिएको थियो।

पछि त्यसको नाम राखियो – प्लुटो।

Pluto – Ice world on the outskirts (Infographic) - Thingimajigs

नयाँ पिण्ड पत्ता लागेपछि त्यसको नाम के राख्ने भन्ने बहस सुरु भयो। अन्ततः ‘प्लुटो’ नाम स्वीकार गरियो।

यो नाम बेलायतकी ११ वर्षीया विद्यार्थी भेनेसिया बर्नीले सुझाएकी थिइन्।

रोमन पौराणिक कथामा प्लुटो अधोलोकका देवता हुन्। सूर्यबाट निकै टाढा रहेको, चिसो र अँध्यारो संसारका रूपमा कल्पना गरिएको नयाँ पिण्डका लागि यो नाम उपयुक्त ठानियो।

यसरी एउटी बालिकाले दिएको सुझाव खगोल विज्ञानको इतिहासकै चर्चित नाममध्ये एक बन्यो।

प्लुटोको खोजले टोमबागलाई पनि खगोल विज्ञानमा विशेष स्थान दिलायो।

तर प्लुटोसँग उनको सम्बन्ध खोजमै सीमित रहेन।

क्लाइड टोमबागको निधन १७ जनवरी १९९७ मा भयो। तर उनले आफ्नो अस्तु अन्तरिक्षमा पठाइयोस् भन्ने इच्छा व्यक्त गरेका थिए।

त्यो इच्छा वर्षौं पछि पूरा भयो।

१९ जनवरी २००६ मा नासाले न्यु होराइजन्स अन्तरिक्षयान प्रक्षेपण गर्‍यो। त्यस यानमा टोमबागको केही अस्तु पनि राखिएको थियो।

न्यु होराइजन्स करिब नौ वर्ष यात्रा गरेपछि १४ जुलाई २०१५ मा प्लुटोको नजिक पुग्यो।

त्यसपछि पृथ्वीमा प्लुटोका अभूतपूर्व तस्बिर आइपुगे।

पहाड, बरफ र सतहमा देखिएका विभिन्न संरचनाले प्लुटोबारे वैज्ञानिकको बुझाइ नै फराकिलो बनाइदियो।

यसमा एउटा अनौठो संयोग थियो।  प्लुटो पत्ता लगाउने वैज्ञानिकको अस्तु बोकेको अन्तरिक्षयान नै अन्ततः प्लुटोको नजिक पुगेको थियो।

प्लुटो पत्ता लाग्दा वरुणभन्दा बाहिर रहेका अन्य पिण्डबारे वैज्ञानिकहरूलाई धेरै जानकारी थिएन। त्यसैले प्लुटोलाई ग्रह मानिनु स्वाभाविक थियो।

तर समयसँगै नेप्च्युनभन्दा बाहिर धेरै नयाँ पिण्ड पत्ता लाग्न थाले। विशेषगरी काइपर बेल्टमा प्लुटोजस्तै प्रकृति भएका आकाशीय पिण्डहरू भेटिए।

त्यसपछि वैज्ञानिकसामु एउटा प्रश्न आयो ‘यदि प्लुटोलाई ग्रह मान्ने हो भने त्यस्तै अन्य पिण्डलाई किन ग्रह नभन्ने?’

यही बहसले ग्रहको परिभाषा स्पष्ट गर्नुपर्ने अवस्था ल्यायो।

सन् २००६ मा अन्तर्राष्ट्रिय खगोलीय संघले ग्रहका लागि तीन मापदण्ड तय गर्‍यो।

सूर्यको परिक्रमा गर्नुपर्ने, आफ्नै गुरुत्वाकर्षणका कारण लगभग गोलाकार हुनुपर्ने र आफ्नो कक्षीय क्षेत्र वरिपरि गुरुत्वीय प्रभुत्व कायम गरेको हुनुपर्ने।

प्लुटोले पहिलो दुई मापदण्ड पूरा गर्छ। समस्या तेस्रोमा आयो।

प्लुटोले आफ्नो कक्षीय क्षेत्र पूर्ण रूपमा ‘सफा’ गरेको छैन। त्यस क्षेत्रमा अन्य धेरै पिण्ड पनि छन्।

त्यसैले प्लुटो ग्रहबाट ‘बौना ग्रह’ अर्थात ‘पुड्को ग्रह’ को श्रेणीमा पुग्यो।

सौर्यमण्डलको ग्रह संख्या नौबाट आठ भयो।

प्लुटो सूर्यबाट औसत करिब ३९.५ एयू टाढा छ। एक एयू भनेको पृथ्वी र सूर्यबीचको औसत दूरी हो, जुन करिब १५ करोड किलोमिटर हुन्छ।

यति टाढा रहेको प्लुटोलाई सूर्यको एकपटक परिक्रमा गर्न झण्डै २४८ पृथ्वी वर्ष लाग्छ।

अर्थात् पृथ्वीमा जन्मिएको मानिसले आफ्नो जीवनकालमा प्लुटोको एउटा वर्ष पूरा भएको देख्ने सम्भावना लगभग हुँदैन।

प्लुटोको व्यास करिब २ हजार ३७६ किलोमिटर छ। यसको सतह अत्यन्त चिसो छ र वायुमण्डल पृथ्वीको तुलनामा निकै पातलो छ।

प्लुटोका पाँच ज्ञात उपग्रह छन् – चारोन, स्टिक्स, निक्स, केरबेरोस र हाइड्रा।

तीमध्ये चारोन सबैभन्दा ठूलो हो।

तर प्लुटो सौर्यमण्डलको अन्तिम बिन्दु भने होइन।

त्यसभन्दा बाहिर काइपर बेल्ट फैलिएको छ। त्यहाँ असंख्य बरफिला र चट्टानी पिण्डहरू छन्।

एरिस, हाउमिया र माकेमाकेजस्ता बौना ग्रह पनि यही बाहिरी क्षेत्रमा छन्।

यसले सौर्यमण्डललाई हामीले विद्यालयमा पढेको आठ ग्रहको सूचीभन्दा निकै ठूलो बनाइदिन्छ।

काइपर बेल्टभन्दा अझ टाढा ओर्ट क्लाउड रहेको वैज्ञानिकहरूको अनुमान छ। तर यो क्षेत्र यति टाढा छ कि त्यहाँ रहेका पिण्डको प्रत्यक्ष अध्ययन अझै निकै कठिन छ।

त्यसैले सौर्यमण्डलको ‘अन्त्य’ कहाँ हुन्छ भन्ने प्रश्नको उत्तर पनि एउटै छैन। सूर्यको गुरुत्वाकर्षण प्रभाव, सौर्य वायु र अन्तरतारकीय अन्तरिक्षको सीमा फरक आधारमा परिभाषित गर्न सकिन्छ।

मानिसले पठाएका अन्तरिक्षयानले सौर्यमण्डल र त्यसबाहिरको संसारबारे हाम्रो बुझाइ विस्तार गरेका छन्।

सन् १९७७ मा प्रक्षेपण गरिएको भायजर १ अहिले अन्तरतारकीय अन्तरिक्षमा यात्रा गरिरहेको छ। दशकौँ लामो यात्रापछि पनि यो अझै अर्को तारासम्म पुगेको छैन।

प्रोक्सिमा सेन्टौरीतर्फ यसको वर्तमान गतिलाई आधार मान्दा त्यहाँ पुग्न हजारौँ वर्ष लाग्ने अनुमान गरिन्छ।

यसले एउटा कुरा स्पष्ट पार्छ मानिसले बनाएको अन्तरिक्षयानका लागि ठूलो देखिने दूरी पनि ब्रह्माण्डको मापनमा निकै सानो छ।

आज प्लुटो ग्रहको सूचीमा छैन,तर त्यसको वैज्ञानिक महत्व घटेको छैन। बरु प्लुटोको कथा विज्ञानको स्वभाव बुझ्ने एउटा राम्रो उदाहरण बनेको छ।

सन् १९३० मा क्लाइड टोमबागले प्लुटो पत्ता लगाए। मानिसले त्यसलाई ग्रहका रूपमा स्वीकार गर्‍यो। दशकौँसम्म विद्यालयका किताबमा नौ ग्रह पढाइयो।

पछि नयाँ पिण्डहरू पत्ता लागे। वैज्ञानिक ज्ञान विस्तार भयो। पुरानो परिभाषामाथि प्रश्न उठ्यो। बहस भयो। अन्ततः प्लुटोको दर्जा परिवर्तन गरियो।

प्लुटो ग्रहबाट बौना ग्रह बन्यो।

तर मानिसको जिज्ञासामा उसको स्थान उस्तै रह्यो। र रही रहनेछ।  

किनकी, ग्रहको दर्जा गुमाएको त्यो सानो संसार प्लुटोले अन्तरिक्ष यात्राको इतिहासमा आफ्नो एउटा छुट्टै अध्याय सुरक्षित गरिसकेको छ।

जग्गा किर्ते र ठगीको जाहेरीपछि प्रतापपुरका वडा अध्यक्ष यादव पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडा अध्यक्ष हरेन्द्र यादव पक्राउ परेका छन्।

जग्गासम्बन्धी विषयमा किर्ते र ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलटारीमा जाहेरी परेपछि यादवलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी मदन थापाका अनुसार जाहेरीपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले यादवविरुद्ध अनुसन्धान अघि बढाएको थियो।

तर पक्राउ पर्नुअघि यादवले आफूलाई पक्राउ नगर्न माग गर्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट अल्पकालीन अन्तरिम आदेश लिएका थिए।

शुक्रबार उच्च अदालत बुटवल इजलासले उक्त आदेशलाई निरन्तरता दिन आवश्यक नरहेको ठहर गरेपछि यादवलाई पक्राउ गर्ने बाटो खुलेको थियो।

त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई दाउन्नेबाट पक्राउ गरेको डीएसपी थापाले जानकारी दिए।

‘आज बिदा भइसकेकाले अदालत खुलेपछि म्याद थपका लागि उपस्थित गराइन्छ,’ डीएसपी थापाले भने।

यादवमाथि लागेको आरोपबारे प्रहरीले थप अनुसन्धान अघि बढाउने जनाएको छ।

‘सुदूर अब दूर छैन’ भनेका बालेनले प्रज्ञामा सुदूर बिर्सिए

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिममा पुगेर ‘सुदूर अब दूर छैन, झिक्कै झिक्कै माया तमलाई’ भनेका थिए। तर, सरकारले हालै गरेको प्रज्ञा प्रतिष्ठानका नियुक्तिले भने यही आश्वासनमाथि प्रश्न उठाएको छ।

ती नियुक्तिहरु हेर्दा लाग्छ सुदुरपश्चिम दुर मात्रै हैन अर्कै देशको हो। अथवा कर्णाली पारी अर्को राज्य पनि छ भन्ने अनुभूति प्रज्ञा प्रतिष्ठानका नियुक्तिहरुले देखाउछ।

सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य-सचिव र परिषद् सदस्य नियुक्त गरेको छ। २९ जना पदाधिकारी नियुक्त हुँदा सुदूरपश्चिमबाट एक जना पनि परेका छैनन्।

यद्यपि, परिषद् सदस्यतर्फ भने सुदूरपश्चिमका ९ जना समेटिएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा ६, ललितकलामा १ तथा सङ्गीत तथा नाट्य प्रतिष्ठानमा २ जना सुदूरपश्चिमका छन्।

तर, महत्वपूर्ण पदाधिकारी चयनमै प्रदेशलाई पूर्ण रूपमा बाहिर राखिएको भन्दै साहित्यकार, कलाकार तथा संस्कृतिकर्मीले सरकारको आलोचना गरेका छन्। उनीहरूको प्रश्न छ-सुदूरपश्चिम नेपालमै पर्दैन कि त्यहाँ योग्य स्रष्टा नै छैनन् ?

सुदूरपश्चिमलाई कला, साहित्य, सङ्गीत र संस्कृतिमा समृद्ध क्षेत्र मानिँदै आए पनि राज्यका प्रमुख सांस्कृतिक संस्थामा नेतृत्व तहमा प्रतिनिधित्व नहुनुले सरकारको समावेशी नियुक्तिमाथि प्रश्न उठेको छ।

त्यसैले आलोचकहरू अहिले बालेनको पुरानो भनाइ सम्झाइरहेका छन्-‘सुदूर अब दूर छैन’ भन्ने आश्वासन व्यवहारमा भने फेरि सुदूरपश्चिमलाई नै दूर बनाउने खालको त भएन ?

कांग्रेस महाधिवेशनमा निष्पक्ष संरचना खोज्दै महत

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले आगामी महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय बनाउन पार्टीभित्र सबै पक्षको सहभागिता सुनिश्चित हुने संरचना निर्माण गर्नुपर्ने बताएका छन्।

नुवाकोट क्षेत्र नम्बर १ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महतले पार्टीका महत्वपूर्ण निर्णय र निर्वाचन प्रक्रियामा कुनै एक पक्षको प्रभाव नदेखिने वातावरण बनाउन आवश्यक रहेको बताए। विगतमा निर्वाचन समिति, अनुशासन समिति, क्रियाशील सदस्यता टुंगो लगाउने समिति र विधान समितिजस्ता संरचनामा सबै पक्षलाई समेट्ने अभ्यासले विवाद न्यूनीकरण गर्न सहयोग गरेको उनको भनाइ थियो।

‘अहिले हामीलाई धेरै कुरा चाहिएको होइन, निष्पक्ष अधिवेशन गराउन सक्ने एउटा निष्पक्ष संरचना मात्र चाहिएको हो,’ महतले भने।

निर्वाचन प्रक्रियामा सम्बन्धित पक्षलाई आफ्नो धारणा राख्ने र निर्णयमाथि प्रश्न उठे सुनुवाइको अवसरसमेत उपलब्ध हुनुपर्ने उनले बताए। एउटा पक्षले तयार पारेको सदस्यता सूचीलाई मात्र आधार बनाएर निर्वाचन प्रक्रिया अघि बढाइएमा त्यसले थप विवाद सिर्जना गर्ने उनको तर्क थियो।

महतले कांग्रेस विभाजन गर्ने पक्षमा आफूहरू नरहेको स्पष्ट पार्दै आफूहरूविरुद्ध भइरहेको प्रचारलाई नियोजित भने। पार्टीलाई लोकतान्त्रिक र एकताबद्ध ढंगले अघि बढाउने उद्देश्यले नै आफूहरू सामूहिक रूपमा सक्रिय भएको उनको दाबी थियो।

पार्टी नेतृत्वसम्बन्धी विवादमा अदालतको निर्णय आफूहरूलाई अनुकूल नभए पनि कानुनी प्रक्रियाको सम्मान गर्नुपर्ने उनले बताए। पुनरावलोकनको प्रक्रियासमेत अघि बढाइएको उल्लेख गर्दै महतले प्रधानन्यायाधीशको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासबाट त्यससम्बन्धी निर्णय भएको बताए।

निर्वाचन आयोगको निर्णय प्रक्रियाप्रति पनि उनले असन्तुष्टि जनाए। सम्बन्धित सबै पक्षलाई आफ्नो भनाइ राख्ने अवसर दिनुपर्नेमा आयोगले एक पक्षको धारणा सुनेर निर्णय गरेको उनको आरोप थियो।

पार्टीभित्रको विवाद समाधान गर्न यसअघि विभिन्न संयन्त्र निर्माण र दुई पक्षका समितिहरूबीच समायोजनको प्रयास भए पनि सहमति जुट्न नसकेको महतले बताए। व्यक्तिगत तहमा संवाद भइरहे पनि समग्र समस्या समाधान नभएपछि सामूहिक रूपमा अघि बढ्नुपरेको उनको भनाइ थियो।

महतका अनुसार २९, ३० र ३१ गते आयोजना हुने भेलामा कांग्रेसको वैचारिक तथा सांगठनिक अवस्थाबारे विस्तृत छलफल हुनेछ। पार्टीको विचार र सिद्धान्त, राष्ट्रियता, प्रजातन्त्र तथा समाजवादमा आएको विचलन, मुलुकको आर्थिक अवस्था, सरकारको कार्यसम्पादन, संगठन सञ्चालन तथा विधान संशोधनलगायत विषय भेलाका मुख्य एजेन्डा हुनेछन्।

पछिल्लो अदालतको प्रक्रियाले तत्काल पार्टी विभाजनतर्फ जाने सम्भावना रोकिएको पनि महतले बताए। अदालतबाट कांग्रेसको नेतृत्वसम्बन्धी विषयमा अन्तिम निर्णय हुने भएकाले अहिले पार्टीभित्रै समाधान खोज्ने अवसर रहेको उनको भनाइ थियो।

उनले अदालतको अन्तिम फैसला आउनुअघि नै पार्टीभित्र सहमति कायम गर्न सकिने भन्दै देशभरका कांग्रेस कार्यकर्तालाई आगामी भेलामा सहभागी हुन आग्रह गरे।

महतले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेपाल फर्किन लागेको जानकारी पनि दिए। देउवा २६ गते नेपाल आउने कार्यक्रम रहेको बताउँदै उनले कार्यकर्तालाई स्वागतका लागि उपस्थित हुन आग्रह गरे।

देउवा २६ गते राति ९ः४५ बजे नेपाल आइपुग्ने तय भए पनि सबैलाई सहज हुने गरी दिउँसो नै आउने व्यवस्था मिलाउने प्रयास भइरहेको महतले बताए।

युवा आन्दोलनले तरंगित दिल्ली

काठमाडौं। भारतमा युवाहरूको नेतृत्वमा भएको प्रदर्शनले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि राजनीतिक दबाब बढाएको छ।

परीक्षा अनियमितताविरुद्ध सुरु भएको आन्दोलन विस्तार हुँदै बेरोजगारी, रोजगारीको अभाव, आर्थिक अवसरको कमी र सरकारी निकायप्रतिको घट्दो विश्वाससम्म पुगेपछि सरकारका लागि चुनौती थपिएको हो।

प्रदर्शनकै बीच शिक्षामन्त्रीको राजीनामाले पनि सरकारमाथि दबाब बढेको संकेत गरेको छ। नयाँ दिल्लीबाट सुरु भएको आन्दोलन विभिन्न सहरसम्म फैलिएको थियो। प्रदर्शनकारीका केही माग सम्बोधन भएपछि आन्दोलनको तीव्रता घटे पनि युवामा रहेको असन्तुष्टि भने तत्काल समाप्त भएको देखिँदैन।

सुरुवातमा प्रश्नपत्र चुहावट र परीक्षा सञ्चालनमा हुने अनियमिततालाई लिएर युवाहरू सडकमा उत्रिएका थिए। तर, आन्दोलन अघि बढ्दै जाँदा रोजगारीको अभाव र भविष्यप्रतिको अनिश्चितता पनि प्रमुख मुद्दा बने। वर्षौंसम्म अध्ययन गरेर प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्ने तर परीक्षा प्रणालीमै कमजोरी देखिँदा अवसर गुमाउनुपर्ने अवस्थाले युवामा आक्रोश बढाएको देखिन्छ।

सरकारले परीक्षा प्रणाली सुधारका लागि कानुनी तथा प्रशासनिक कदम अघि सारेको छ। प्रश्नपत्र चुहावट र परीक्षासम्बन्धी अनियमिततामा संलग्नलाई कारबाही गर्ने व्यवस्था कडा बनाइएको छ। तर, युवाको असन्तुष्टि परीक्षा प्रणालीमा मात्रै सीमित नभएकाले रोजगारी र आर्थिक अवसरको विषय सरकारका लागि थप जटिल चुनौती बनेको छ।

आन्दोलनले भारतमा सामाजिक सञ्जाल नयाँ पुस्ताको राजनीतिक दबाब निर्माण गर्ने प्रभावकारी माध्यम बन्दै गएको पनि देखाएको छ। अनलाइन अभियानमार्फत ठूलो संख्यामा युवालाई जोड्न सकिएको छ।

यसबीच प्रधानमन्त्री मोदीले पनि युवा पुस्तासँग प्रत्यक्ष जोडिन सामाजिक सञ्जालको प्रयोगलाई बढाएका छन्। ‘एक्स’मा सक्रिय मोदीले इन्स्टाग्रामलगायत प्लेटफर्ममा समेत छोटा भिडियोमार्फत युवासँग संवाद गर्ने प्रयास गरिरहेका छन्।

यसले भारतको राजनीतिमा नयाँ पुस्ताको प्रभाव बढ्दै गएको संकेत गरेको छ। परम्परागत राजनीतिक संगठनभन्दा बाहिर रहेका युवासमेत साझा मुद्दाका आधारमा छोटो समयमै संगठित हुन सक्ने अवस्था बनेको छ।

प्रदर्शनका क्रममा सुरक्षाका नाममा प्रदर्शनकारीको निगरानी गर्न प्रविधिको प्रयोग गरिएको विषय पनि विवादमा आएको छ। केही प्रदर्शनकारीले आन्दोलनका क्रममा खिचिएका भिडियो सामाजिक सञ्जालमा फैलिँदा अनलाइन धम्की तथा दुर्व्यवहार सामना गर्नुपरेको बताएका छन्।

प्रदर्शनको मुख्य क्षेत्र आसपास इन्टरनेट सेवा अवरुद्ध गरिँदा आन्दोलनकारीबीचको सम्पर्क प्रभावित भएको थियो। त्यसपछि उनीहरूले वैकल्पिक माध्यम प्रयोग गरेर आपसी समन्वय कायम राख्ने प्रयास गरेका थिए।

भारतमा प्रदर्शन, द्वन्द्व र साम्प्रदायिक तनावका बेला इन्टरनेट बन्द गर्ने अभ्यास यसअघि पनि विवादमा पर्दै आएको छ। यसले सुरक्षाको आवश्यकता र नागरिकको डिजिटल अधिकारबीच सन्तुलन कसरी कायम गर्ने भन्ने प्रश्नलाई पुनः बहसमा ल्याएको छ।

आन्दोलनको तत्कालीन कारण परीक्षा प्रणालीमा देखिएको कमजोरी भए पनि त्यसको गहिराइमा युवाको रोजगारीसम्बन्धी चिन्ता रहेको देखिन्छ।

प्रतिस्पर्धात्मक परीक्षाका लागि वर्षौं तयारी गर्ने युवाले परीक्षा नै निष्पक्ष नभएको महसुस गरेपछि सार्वजनिक संस्थाप्रतिको विश्वास कमजोर हुने अवस्था देखिएको छ। त्यसमाथि स्थिर रोजगारीको अभाव र सीमित आर्थिक अवसरले निराशा थप बढाएको छ।

सरकारले परीक्षा प्रणाली सुधार गर्न सक्ने भए पनि रोजगारी सिर्जना, आर्थिक अवसर विस्तार र युवाको भविष्यप्रतिको विश्वास पुनःस्थापित गर्नु दीर्घकालीन चुनौती हुनेछ।

यो आन्दोलनले तत्कालै ठूलो राजनीतिक परिवर्तन ल्याउँछ भन्ने निष्कर्षमा पुग्न हतार हुनेछ। तर, यसले सरकारलाई युवाका समस्या बेवास्ता गर्न कठिन बनाइदिएको छ।

आन्दोलनको नेतृत्व गरिरहेको समूहले परीक्षा अनियमितताविरुद्ध अभियानलाई निरन्तरता दिने तथा युवाका समस्या बुझ्न विभिन्न क्षेत्रमा पुग्ने योजना अघि सारेको छ। राजधानीबाट सुरु भएको असन्तुष्टि अन्य क्षेत्रमा समेत फैलिन थालेकाले यसको प्रभाव कति लामो रहन्छ भन्ने चासोको विषय बनेको छ।

अहिले आन्दोलन राजनीतिक दलमा रूपान्तरण हुनेभन्दा दबाब समूहकै रूपमा अघि बढ्ने संकेत गरिएको छ। तर, आगामी राजनीतिक बहसमा यसको प्रभाव भने देखिन सक्ने सम्भावना छ।

भारतमा ठूलो युवा जनसंख्या रहेकाले आगामी निर्वाचनमा उनीहरू महत्वपूर्ण मतदाता बन्न सक्छन्। अहिले सडकमा देखिएको असन्तुष्टिले राजनीतिक दलहरूलाई युवाका समस्या र अपेक्षामाथि थप ध्यान दिन बाध्य पार्न सक्छ।

सत्तारुढ दलले रोजगारी र आर्थिक अवसरको विषयलाई प्राथमिकतामा राख्नुपर्ने दबाब बढ्नेछ। विपक्षी दलहरूले भने यही असन्तुष्टिलाई सरकारविरुद्धको राजनीतिक मुद्दा बनाउने प्रयास गर्न सक्छन्।

तर सडकको आन्दोलन स्वतः मतमा परिणत हुन्छ भन्ने निश्चित छैन। त्यसका लागि स्पष्ट राजनीतिक एजेन्डा, संगठन र युवाको विश्वास जित्ने क्षमता आवश्यक हुन्छ।

८ फिट १० इन्च लामो कपाल, भारतीय महिला रेणुले बनाइन् विश्व कीर्तिमान

नयाँ दिल्ली । भारतकी रेणु धरियालले करिब एक दशकदेखि कपाल नकाटी जीवित महिलामध्ये सबैभन्दा लामो कपालको विश्व कीर्तिमान बनाएकी छन्।

गिनिज वर्ल्ड रेकर्डका अनुसार रेणुको कपालको लम्बाइ २७१.५० सेन्टिमिटर अर्थात् ८ फिट १० इन्च मापन गरिएको छ। उत्तराखण्डको हल्द्वानीमा अप्रिलमा गरिएको मापनपछि उनको कीर्तिमान प्रमाणित भएको हो। उनले यसअघि यो रेकर्ड राखेकी युक्रेनकी आलिया नासिरोभालाई पछि पारेकी हुन्। नासिरोभाको कपाल २५७.३३ सेन्टिमिटर लामो थियो।

रेणु युट्युबर हुन् र आफ्नो च्यानलमार्फत सौन्दर्य तथा कपालसम्बन्धी सामग्रीसमेत साझा गर्दै आएकी छन्। उनका अनुसार उनले सन् २०१५ देखि कपाल काटेकी छैनन्।

उनले लामो कपाल राख्नुको कारण भारतीय संस्कृति र परम्परासँग जोडिएको बताएकी छन्। उनका अनुसार लामो कपाललाई भारतीय समाजमा सौन्दर्य र सांस्कृतिक पहिचानसँग जोडेर हेर्ने गरिन्छ। यही मान्यताबाट प्रेरित भएर उनले कपाल बढाउन थालेकी हुन्।

उनको कपालको लम्बाइ सामान्यभन्दा निकै बढी भएकाले दैनिक हेरचाह पनि चुनौतीपूर्ण छ। कपाल धुने, सुकाउने र अल्झिएको भाग मिलाउन उनलाई लामो समय लाग्ने गरेको उनले बताएकी छन्।

रेणुले कपालको हेरचाहमा सकेसम्म प्राकृतिक सामग्री प्रयोग गर्ने गरेको दाबी गरेकी छन्। घरमै तयार गरिएको तेल तथा स्याम्पु प्रयोग गर्ने र रासायनिक उत्पादनबाट टाढा रहने गरेको उनको भनाइ छ। कपालको हेरचाहसम्बन्धी आफ्ना अनुभव तथा उपायसमेत उनले युट्युबमार्फत सार्वजनिक गर्दै आएकी छन्।

यति लामो कपालका कारण सार्वजनिक स्थानमा पुग्दा आफूलाई मानिसहरूले चासोका साथ हेर्ने गरेको रेणुले बताएकी छन्। सामाजिक सञ्जालमा समेत उनको कपाललाई लिएर प्रशंसा र कौतुहलता देखिने गरेको उनको भनाइ छ।

कपाल भुइँमा नलत्रियोस् भनेर रेणुले प्रायः त्यसलाई लामो चुल्ठो बनाएर बाँध्ने गर्छिन्। लामो कपालका कारण दैनिक गतिविधिमा सहजता कायम राख्न पनि विशेष सावधानी अपनाउनुपर्ने उनको अनुभव छ।

विश्व कीर्तिमान कायम गरेपछि रेणुले आफ्नो उपलब्धिले भारत र आफ्नो स्थानीय समुदायलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा राखेकी छन्।

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीको सम्झनामा काठमाडौंमा ‘ट्रिब्युट रन ५के’

काठमाडौं। पाकिस्तानको ब्रोड पिकमा भएको हिमपहिरोमा ज्यान गुमाएका नेपाली आरोहीहरूको सम्झनामा काठमाडौंमा ‘ट्रिब्युट रन ५के’ आयोजना गरिएको छ।

कपनको बालुवाखानीबाट सुरु भएको पाँच किलोमिटर दौड बौद्धनाथ स्तुपामा पुगेर सम्पन्न भएको थियो। दौडमा आरोही, पर्वतारोहणप्रेमी, धावक तथा सर्वसाधारण सहभागी भएका थिए। बौद्धनाथ पुगेपछि सहभागीहरूले दिवंगत आरोहीहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेका थिए।

कार्यक्रममा ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका निर्मल पुर्जा (निम्स) नेतृत्वको नेपाली टोलीको तस्बिरमा पुष्पगुच्छा अर्पण गरिएको थियो। सहभागीहरूले दिवंगत आरोहीहरूको सम्झनामा दीप प्रज्ज्वलनसमेत गरेका थिए।

आयोजकका अनुसार ‘ट्रिब्युट रन ५के’ सामान्य दौड प्रतियोगिताभन्दा फरक रूपमा हिमाल आरोहणका क्रममा ज्यान गुमाएका आरोहीप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्ने उद्देश्यले आयोजना गरिएको हो। पर्वतारोहण क्षेत्रमा उनीहरूले पुर्‍याएको योगदानको स्मरण गर्दै शोकमा रहेका परिवारप्रति ऐक्यबद्धता जनाउनु पनि कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ।

ब्रोड पिकमा भएको हिमपहिरोमा नेपालीसहित विभिन्न देशका आरोहीले ज्यान गुमाएका छन्। घटनाले नेपालको पर्वतारोहण क्षेत्रमा समेत ठूलो क्षति पुर्‍याएको छ। दुर्घटनापछि दिवंगत आरोहीहरूको सम्मानमा काठमाडौंमा विभिन्न श्रद्धाञ्जली तथा दीप प्रज्ज्वलन कार्यक्रम हुँदै आएका छन्।

कार्यक्रममा सहभागीहरूले आरोहीहरूको साहस र योगदानलाई स्मरण गर्दै हिमाल आरोहणलाई थप सुरक्षित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले हिमाली क्षेत्रमा जोखिम न्यूनीकरण, उद्धार प्रणालीको सुदृढीकरण तथा आरोहीको सुरक्षालाई प्राथमिकतामा राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

‘ट्रिब्युट रन ५के’मार्फत सहभागीहरूले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका आरोहीहरूको योगदानलाई सम्मान गर्दै उनीहरूको सम्झना जीवन्त राख्ने सन्देश दिएका छन्।

तस्वीरहरू :

 

 

वर्षाको वितण्डा : कहाँ-कहाँ सडकअवरुद्ध?

काठमाडौं। लगातारको वर्षा, पहिरो, सडक भासिने तथा कटानका कारण देशका विभिन्न स्थानमा सडक तथा यातायात सेवा प्रभावित भएको छ।

प्रहरीले जोखिमयुक्त सडकखण्डमा सावधानी अपनाउन आग्रह गर्दै यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक, मुगुको नाग्म–गमगढी सडक, रुकुम पश्चिमको भेरी करिडोर तथा सोलुखुम्बुको सल्लेरी–लुक्ला सडकखण्डमा यातायात प्रभावित भएको छ।

सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै केही सडकमा निश्चित समयका लागि सवारी आवागमनसमेत रोकिएको छ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ।

त्यस्तै, कान्ति लोकपथमा पनि वर्षायामका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा वर्षाका कारण सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्ग भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत जिरोकिलो, कोदारी तथा लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।

त्यसैगरी लामासाँघु–रामेछाप सडकखण्डअन्तर्गत दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारमा सामाकोशी खोलाले सडक कटान गरेपछि यातायात प्रभावित भएको छ। उक्त स्थानमा खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ निलदोर्जे पर्यटक सडकखण्डअन्तर्गत सल्लेरी–लुक्ला सडकमा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काडे पिङवाखोलानजिक मध्यपहाडी लोकमार्गमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

वर्षायाममा लगातार वर्षा भइरहेकाले पहिरो, बाढी, सडक भासिने तथा कटानको जोखिम अझै कायम रहेको प्रहरीले जनाएको छ।

जोखिमयुक्त क्षेत्रमा जुनसुकै बेला सडक अवरुद्ध हुन सक्ने भएकाले अत्यावश्यकबाहेक यात्रा नगर्न तथा यात्रा गर्नैपर्ने अवस्था भए सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

विद्युत् महसुलमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति

काठमाडौं। सरकारले कृषि सिँचाइ, खानेपानी तथा घरायसी प्रयोजनमा प्रयोग हुने विद्युत् महसुलमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेपछि यसको विरोध सुरु भएको छ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारको निर्णयलाई जनविरोधी र प्रतिगामी भन्दै आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले अत्यावश्यक सेवामा सहुलियत दिनुपर्नेमा थप कर लगाएर सर्वसाधारणमाथि आर्थिक भार बढाउने सरकारको निर्णय उचित नभएको बताएका छन्।

घिसिङले विगतमा कृषि सिँचाइका लागि विद्युत् महसुल प्रतियुनिट ७ रुपैयाँबाट घटाएर करिब २ रुपैयाँ कायम गरिएको तथा सामुदायिक खानेपानी लिफ्टिङको महसुल ९ रुपैयाँबाट ४ रुपैयाँ २० पैसा पुर्‍याइएको स्मरण गराएका छन्।

उनका अनुसार कृषि उत्पादन लागत घटाउन विद्युत्मा सहुलियत आवश्यक रहेको अवस्थामा उल्टै १३ प्रतिशत भ्याट थपिँदा किसान र उपभोक्ता दुवै प्रभावित हुनेछन्।

‘कृषि प्रधान देशमा सिँचाइका लागि विद्युत् निःशुल्क गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने हो,’ घिसिङले भनेका छन्, ‘तर भएका सहुलियत खोसेर उल्टै १३ प्रतिशत भ्याट लगाउनुले किसान र आम उपभोक्तालाई मारमा पारेको छ।’

उनले विद्युत् उत्पादन बढिरहेको अवस्थामा यसको आन्तरिक खपत बढाउने नीति आवश्यक रहेको पनि बताएका छन्। विशेषगरी खाना पकाउने ग्यासको अभाव भइरहेका बेला विद्युतीय चुल्होको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनको तर्क छ।

ग्यासको विकल्पमा विद्युतीय चुल्होको प्रयोग बढाउन सरकारले इन्डक्सन चुल्हो वितरण गर्ने कार्यक्रम ल्याउनुपर्ने घिसिङले सुझाव दिएका छन्। स्वदेशमै उत्पादन भएको विद्युत् खेर जाने तर खाना पकाउन महँगो ग्यासका लागि सर्वसाधारणले लाइन बस्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ छ।

घिसिङले करको भार सामान्य नागरिक र किसानमाथि थप्नुको सट्टा ठूला उद्योग तथा व्यवसायीबाट उठ्न बाँकी बक्यौता असुलीमा सरकार केन्द्रित हुनुपर्ने बताएका छन्।

विशेषगरी ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’मार्फत विद्युत् प्रयोग गरेका ठूला उद्योगीबाट उठ्न बाँकी अर्बौँ रुपैयाँ बक्यौता असुल गर्न सरकार सक्रिय हुनुपर्ने उनको माग छ।

राजस्व संकलनका लागि विपन्न तथा सामान्य नागरिकमाथि थप भार सिर्जना गर्नुभन्दा ठूला व्यापारिक घराना तथा व्यवसायबाट उठ्न बाँकी रकम असुलीमा कडाइ गर्नुपर्ने घिसिङले सरकारलाई सुझाव दिएका छन्।

उनले विद्युत् महसुलमा थप कर लगाउने निर्णयले कृषि, खानेपानी र घरायसी उपभोक्तालाई प्रत्यक्ष असर पार्ने भन्दै सरकारले आफ्नो निर्णयमाथि पुनर्विचार गर्नुपर्ने संकेतसमेत गरेका छन्।

जनता निराश र आतंकित छन् : लिङदेन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकमा आम नागरिक, निजी क्षेत्र तथा व्यवसायीहरू असुरक्षित र आतंकित अवस्थामा रहेको दाबी गरेका छन्।

शनिबार राप्रपाको काठमाडौं महानगरपालिका नगर अधिवेशनलाई सम्बोधन गर्दै लिङदेनले दैनिक ज्याला मजदुरी गरेर परिवार पालिरहेका नागरिकदेखि छोराछोरीको भविष्य सुरक्षित बनाउने उद्देश्यले मेहनत गरिरहेका मानिससम्म निराश र असुरक्षित बनेको बताए।

उनले पछिल्लो निर्वाचनमा नयाँ राजनीतिक दललाई मत दिएका नागरिकसमेत अहिले निराश र आतंकित भएको दाबी गरे। उनका अनुसार नागरिकले परिवर्तनको अपेक्षासहित नयाँ शक्तिलाई मत दिए पनि त्यसअनुसारको अवस्था सिर्जना हुन सकेको छैन।

लिङदेनले महँगी बढेको, बजारमा कृत्रिम अभाव सिर्जना भएको तथा निजी क्षेत्र निराश रहेको आरोप लगाए। आर्थिक गतिविधिमा देखिएको असहज अवस्थाले व्यवसायी तथा सर्वसाधारण दुवै प्रभावित भएको उनको भनाइ थियो।

उनले देश गम्भीर भू–राजनीतिक चक्रव्यूहमा फसेको दाबी गर्दै राष्ट्रिय हितका विषयमा स्पष्ट रूपमा बोल्ने राजनीतिक शक्ति अभाव भएको बताए।

‘मुलुक भू–राजनीतिको गम्भीर चक्रव्यूहमा फसेको छ। कसैले बोल्न सकिरहेका छैनन्। जनता वा देशका लागि हामी छौँ भनेर भन्न सक्ने कुनै राजनीतिक शक्ति देखिरहेको छैन,’ उनले भने।

लिङदेनले मुलुकलाई संकटबाट बाहिर निकाल्न राप्रपा थप बलियो बन्नुपर्ने बताए। त्यसका लागि पार्टीले नयाँ ढंग, नयाँ सोच र नयाँ दृष्टिकोणसहित जनतामाझ जानुपर्ने उनको भनाइ थियो।

उनले राप्रपाले अघि सारेको राजनीतिक विचार र बाटो समयक्रममा सही साबित हुँदै गएको दाबी गरे। अहिले पार्टीका नेता तथा कार्यकर्ता निराश भएर पछि हट्ने नभई संगठनलाई थप सुदृढ बनाएर अघि बढ्ने समय भएको उनले बताए।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीले लिएको विचार, बाटो अनिवार्य जस्तो प्रमाणित हुँदै गएको छ। यस्तो बेला मैदानबाट भाग्ने होइन, मैदान छाडेर लुक्ने होइन,’ लिङदेनले भने, ‘सबै एकताबद्ध भएर अगाडि बढ्ने समय हो।’

उनले पार्टीका नेता तथा कार्यकर्तालाई आपसी एकता कायम गर्दै राप्रपाको संगठन विस्तार र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउन आग्रह गरे।

मुलुकको वर्तमान संकटपूर्ण अवस्थालाई राप्रपाले आफ्नो राजनीतिक विचार स्थापित गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने उनको धारणा थियो।

वाइफाई चलाउन नदिएको निउँमा स्वास्थ्यकर्मीमाथि कुटपिट

काठमाडौं। अस्पतालको वाइफाई प्रयोग गरेको विषयमा विवाद हुँदा स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा कालिकोट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पलाँता गाउँपालिका–९ स्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि दुर्व्यवहार, अभद्र व्यवहार र कुटपिट गरेको तथा अस्पतालमा अनधिकृत रूपमा प्रवेश गरी सामान तोडफोड गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब १ बजेतिर १४ र १५ वर्षका एकाघरका दुई भाइ अस्पतालको वाइफाईमा मोबाइल जोडेर ओपीडी नजिकै गेम खेलिरहेका थिए। चिकित्सकले अस्पताल परिसरबाहिर गएर मोबाइल चलाउन भनेपछि उनीहरू र चिकित्सकबीच विवाद भएको थियो।

विवाद बढ्दै गएपछि बालकहरूका परिवारका अन्य सदस्यसमेत घटनामा जोडिएको र चिकित्सक तथा नर्समाथि हातपात भएको प्रहरीको भनाइ छ। त्यसक्रममा अस्पतालमा केही सामानसमेत तोडफोड भएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी सुरेश खत्रीका अनुसार स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार तथा अस्पतालमा अनधिकृत प्रवेश गरी तोडफोड गरेको घटनाबारे थप अनुसन्धान भइरहेको छ।

अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सामान्य विवादले स्वास्थ्यकर्मीमाथि हातपात तथा भौतिक क्षतिसम्मको अवस्था सिर्जना भएपछि घटनालाई गम्भीर रूपमा लिइएको प्रहरीले जनाएको छ।

सांसद किरण थापाको सबै पारिश्रमिक गरिब विद्यार्थीको पढाइमा खर्च

काठमाडौं । अधिकांश नेतामाथि पद, शक्ति र सुविधाको मोह भएको आरोप लाग्ने गर्छ । तर, नेकपा एमाले बागमती प्रदेशका सांसद तथा पूर्वस्वास्थ्यमन्त्री किरण थापाले आफूलाई फरक ढंगले चिनाएका छन् ।

उनले राजनीतिलाई पेशा होइन, समाजसेवाको माध्यम बनाएका छन् । उनी स्वच्छ छवि भएका नेताका रूपमा परिचित छन् ।

यही कारण स्थानीय तहदेखि प्रदेश सरकारसम्म उनले जिम्मेवारी पाए । उनी जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने नेता पनि हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी वडाध्यक्ष भए ।

त्यसबेलै उनले घोषणा गरे- ‘वडाध्यक्षले पाउने पारिश्रमिक एक रुपैयाँ लिन्नँ ।’ नभन्दै पाँच वर्षसम्म उनले पाएको सबै पारिश्रमिक जगत भैरव प्रतिष्ठान मार्फत स्थापना गरिएको अक्षयकोषमा जम्मा गरे ।

त्यसको ब्याजवापतको रकम गरिब तथा जेहेन्दार विद्यार्थीको शिक्षामा खर्च गरे । उनी भन्छन्- ‘आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको पढाइ रोकिनु हुँदैन ।’

बागमतीको सांसद बनेपछि पनि उनको सामाजिक सेवाप्रतिको सोच फेरिएन । सांसदका रूपमा पाउने पारिश्रमिक पनि उनले सोही अक्षयकोषमा जम्मा गर्दै आएका छन् । ‘राजनीतिबाट व्यक्तिगत लाभ होइन, समाजलाई प्रतिफल दिनुपर्छ,’ उनको धारणा छ ।

उसो त थापा राजनीतिमा आउनुअघि नै उनी सामाजिक क्षेत्रमा सक्रिय थिए । उनीसँग लामो समय अन्तर्राष्ट्रिय मानवीय सहायता संस्था रेडक्रसमा रहेर विपद्, स्वास्थ्य र मानवीय सेवामा काम गरेको अनुभव छ ।

उनी जनप्रतिनिधि हुनुअघि भक्तपुरको सूर्यविनायक उद्योग वाणिज्य संघको अध्यक्ष बने । खानेपानी समितिलगायत विभिन्न सामाजिक संस्थामा रहेर जनताको काम गरे ।

स्थानीय विकासका धेरै अभियानमा उनी अग्रपंक्तिमा देखिए । बागमती प्रदेश सरकारमा उनले करिब दुई वर्ष स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाले । मन्त्री हुँदा उनले दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेका थिए । दुर्गम क्षेत्रमा स्वास्थ्य संस्थाहरू खोले ।

उनी समृद्ध बागमती प्रदेशको स्पष्ट मार्गचित्र बोकेका नेता हुन् । विकासको योजना कागजमा नभई गाउँसम्म पुग्नुपर्ने मान्यता उनको छ । जनतासँग प्रत्यक्ष भेटघाट गर्न उनी रुचाउँछन् । भेटघाटमार्फत् जनताको समस्या सुनेर समाधान खोज्ने उनको राजनीतिक शैली चर्चित छ ।

उनी प्रष्ट भन्छन्, ‘राजनीति भनेको समाजसेवा हो । राजनीतिलाई कहिल्यै पेशा बनाउनु हुँदैन ।’ उनका अनुसार राजनीति कमाउने माध्यम बनेपछि भ्रष्टाचार बढ्छ । समाजसेवाको भावना हराउँछ । जनताप्रतिको उत्तरदायित्व पनि क्रमशः कमजोर हुन्छ ।

उनले विद्यार्थीकालदेखि विशुद्ध राजनीतिमा लागेका कतिपय नेताले सत्तामा पुगेपछि आफ्नै पहिलेको प्रतिबद्धता बिर्सिँदै भ्रष्टाचार गर्दा लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने तहमा जनता पुगेको बताए ।

उनी भन्छन्, ‘राजनीतिक संघर्षमा रहेको बेला बोलेका कुरा सत्तामा पुगेपछि कार्यान्वयन नगर्दा राजनीति मात्रै होइन, व्यवस्था नै बदनाम बनाउने प्रयास भयो ।’ त्यसैले राजनीतिमा नैतिकता, इमानदारी र सेवाभाव आवश्यक रहेको उनी दोहोर्‍याउँछन् ।

यद्यपि, थापाको स्वच्छ राजनीतिक छविलाई हिलो छ्यापेर फोहोर पार्न खोज्नेहरू पनि नभएका भने होइनन् । हालै पार्टी अध्यक्ष केपी शर्मा ओलीका लागि ‘ओली कुटी’ निर्माणमा आर्थिक सहयोग गरेको समाचार सार्वजनिक भयो ।

थापाले भने, ‘त्यो पूरापूर भ्रामक र झुटा समाचार हो । त्यसमा कुनै सत्यता छैन ।’ सांसद थापा आगामी दिनमा पनि समाजसेवामार्फत राजनीति गर्ने आफ्नो प्रतिबद्धतामा उनी अडिग रहेको बताउँछन् ।

उनका लागि राजनीति सत्ता प्राप्त गर्ने बाटोभन्दा पनि समाज परिवर्तन गर्ने अभियान हो ।

‘सरकारले अपेक्षाकृत काम गर्न सकेन’

काठमाडाैं। सरकार गठनको चार महिना भन्दा बढी भयो। यो बीचमा सरकारी तवरबाटै विभिन्न किसिमका विवादास्पद निर्णय पनि भए। तीमध्येका कतिपय निर्णयहरू राजनीतिक, सार्वजनिक, भूराजनीतिक र कूटनीतिक दृष्टिकोणबाट विवादित पनि बने।

अर्कोतिर, संसद् जसरी चल्नुपर्ने थियो, त्यसरी चलेको छैन भन्ने स्वरहरू पनि राजनीतिक वृत्तबाट नै सुनिन थालेका छन्। आमनागरिकले पाउनुपर्ने दैनिक उपभोग्य सामानहरू सहज रूपमा भान्सासम्म पुग्न नसक्नुले नागरिकहरूमा असन्तुष्टि बढ्दो छ। किसानले पाउनुपर्ने मल समयमा नपाउनु होस् या महँगी नियन्त्रणमा पनि सरकार असफल भएको विश्लेषण भइरहेका छन्।

भूराजनीतिक रूपमा नेपाल ठूलो खतरामा रहेको भन्ने आवाजहरू पनि उत्तिकै सुनिन्छन्। प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले १७ जेठमा संसद्को रोस्ट्रमबाट ‘नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि सिंगो देश नै तरंगित बन्यो। यही अभिव्यक्तिका कारण नेपाल प्रशासित क्षेत्र सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रमा भारतीय गतिविधि बढेको आकलन गर्नेहरू पनि प्रशस्तै छन्। भर्खरै घटेको सुनसरी घटना र त्यसपछि सिंगो मधेशमा फैलिएको डढेलोले पनि नेपाल भूराजनीतिक दुष्चक्रमा फस्ने हो कि भन्ने आशंकालाई अझै बल पुर्‍याएको छ।

संसद् र सरकारका चार महिना बित्दै गर्दा केही गम्भीर प्रकृतिका आन्तरिक घटनाहरू घटे। सहज व्यवस्थापनको उपयुक्त योजना नै नबनाई गठन भएलगत्तै सरकारले काठमाडौंका खोला किनारका सुकुम्बासी बस्तीमा अन्धाधुन्ध डोजर चलायो। जसले गरिखाने सुकुम्बासीहरूको चिल्लीबिल्ली परेको छ। संसद्मा यो विषय जोडतोडका साथ उठेपनि सरकारले चार महिना बितिसक्दा पनि अझै घरबारविहीन बनाइएका सुकुम्बासीहरूको सहज व्यवस्थापनको योजना सार्वजनिक गर्न सकेको छैन।

अर्थतन्त्र राम्रोसँग चलायमान हुन सकेको छैन। नयाँ सरकार बनेसँगै नागरिकहरूले ठूलो अपेक्षा गरेका थिए। अहिले पनि त्यो अपेक्षा कायमै छ।

तर सरकार भने जनताको अपेक्षाअनुसार अगाडि बढ्न सकेन। यही बीचमा सात जना नागरिकले आत्मदाह गरे। यसले पुष्टि गर्छ कि वर्तमान सरकारले जनतामा अपेक्षाकृत आशावादिता सिर्जना गर्न सकेन।

यी लगायतका यस्तै विषयमा केन्द्रित रहेर हामीले नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य बनेकी युवा नेत्री एशुदाकुमारी बरालसँग भिडियो-संवाद गरेका छौँ।

बरालले पनि सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताइन्। उनका अनुसार सरकारले प्राप्त गरेको जनादेशको सम्मान हुनेगरी काम गरिरहेको छैन। आफ्नो पुस्ताका मानिसले सरकार चलाएको देख्दा ठूलो आशा जागेको भए पनि त्यो आशा र भरोसालाई विश्वास गर्ने वातावरण बनाउन सरकार सफल नभएको उनको दाबी छ।

प्रस्तुत छ सांसद बरालसँग नेपालवान एचडीका लागि रामचन्द्र जोशीले गरेको भिडियो-वार्ताको सम्पादित र संक्षिप्त अंश :

संसद् कस्तो चल्दैछ?

अहिलेको संसद् प्रभावकारी रूपमा सञ्चालन भइरहेको जस्तो लाग्दैन। सरकारसँग दुईतिहाइ बहुमत भएकाले संसद् उनीहरूको आवश्यकताअनुसार मात्रै चलिरहेको देखिन्छ। सरकारको इच्छा भए बैठक बस्छ, नत्र रोकिन्छ। संसद्लाई जनताको आवाज बोल्ने थलोभन्दा पनि सत्ता पक्षको सुविधा हेरेर सञ्चालन गरिएको जस्तो महसुस हुन्छ।

विधेयकहरू धमाधम ल्याइएका छन्। तर ती विधेयक वास्तवमै जनताको आवश्यकता पूरा गर्न ल्याइएका हुन् कि सरकारको राजनीतिक स्वार्थ पूरा गर्न भन्ने प्रश्न उठेको छ। कुनै कानुनले समाजमा के प्रभाव पार्छ, जनतालाई के फाइदा हुन्छ भन्ने विषयमा पर्याप्त बहस हुन सकेको छैन।

संसद्को मूल उद्देश्य जनताको हितका लागि कानुन बनाउनु हो। तर अहिले सरकार आफ्नो बहुमतको बलमा निर्णय अघि बढाइरहेको छ। प्रतिपक्षले उठाएका विषयलाई गम्भीरतापूर्वक सुन्ने वातावरण बनेको छैन।

प्रतिपक्षीहरू त कमजोर जस्ता देखिन्छन् नि संसद्मा? 

सरकार प्रतिपक्षका सुझावलाई महत्व दिन इच्छुक देखिएको छैन। हामी संसद्मा जनताको प्रतिनिधित्व गरेर आएका हौँ। हामीले उठाउने विषय व्यक्तिगत होइन, जनताका समस्या हुन्।

संसद्मा २७५ जना सांसद छन्। सबैको हैसियत बराबर हो। कसैको मत ठूलो र कसैको सानो हुँदैन। तर अहिले बहुमतको आडमा प्रतिपक्षको आवाजलाई बेवास्ता गर्ने प्रवृत्ति देखिएको छ।

हाम्रो जिम्मेवारी सरकारका कामको समीक्षा गर्नु, कमजोरी औँल्याउनु र आवश्यक सुझाव दिनु हो। सरकारलाई सचेत गराउनु प्रतिपक्षको संवैधानिक दायित्व हो। तर अहिले प्रतिपक्षले उठाएका विषयलाई आलोचनाका रूपमा मात्रै लिने गरिएको छ।

सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति र सुकुम्बासी हटाउने विषयमा तपाईंहरूले लगातार आवाज उठाइरहनुभएको छ। तर सरकारले एक कानले सुनेर अर्को कानले उडाइदिएजस्तो गर्‍यो नि?

म कुनै दलको सांसद भए पनि सबैभन्दा पहिले नेपालको नागरिक हुँ। त्यसपछि मात्र कुनै पार्टीको प्रतिनिधि हुँ। त्यसैले राष्ट्रको हितसँग जोडिएका विषयमा हामीले स्पष्ट रूपमा बोल्नुपर्छ।

म पटक-पटक भन्दै आएको छु, देश रहे मात्रै हामी रहन्छौँ। राष्ट्रभन्दा ठूलो कुनै व्यक्ति हुन सक्दैन। सरकार वा प्रधानमन्त्री पनि राष्ट्रभन्दा माथि होइनन्।

पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गरेर आजको राष्ट्र निर्माण गर्नुभएको हो। इतिहासका सकारात्मक पक्षलाई सम्मान गर्नुपर्छ। तर अहिले राष्ट्रको सार्वभौमिकतासँग जोडिएका विषयमा सरकारले व्यक्त गरेका केही अभिव्यक्तिले गम्भीर प्रश्न उठाएका छन्। त्यसैले यस्ता विषयमा सरकार अझ जिम्मेवार हुनुपर्छ।

१ सय ८२ जना सांसदले अनुमोदन गरेको विषय हो त्यो। त्यसैले उनीहरूले आफ्नो निर्णयलाई सही ठानिरहेका होलान् नि?

बहुमत हुनु लोकतान्त्रिक व्यवस्थाको हिस्सा हो। 

तर, बहुमतको अर्थ सबै निर्णय स्वतः सही हुन्छन् भन्ने होइन। लोकतन्त्रमा प्रतिपक्षको कुरा पनि सुन्नुपर्छ। बहुमतले संविधान, राष्ट्रिय हित र ऐतिहासिक तथ्यभन्दा माथि जान सक्दैन। आज बहुमतको आधारमा प्रतिपक्षको आवाज दबाइयो भने त्यसको मूल्य इतिहासले मूल्याङ्कन गर्छ।

मानिसबाट गल्ती हुन सक्छ। हामी सबैबाट हुन सक्छ। तर गल्ती भएपछि त्यसलाई सच्याउनु नै नेतृत्वको परिपक्वता हो।

यदि प्रधानमन्त्रीले ‘मेरो अभिव्यक्तिबाट भ्रम सिर्जना भयो, त्यसलाई सच्याउँछु’ भन्नुभएको भए विवाद त्यत्तिकै सकिन्थ्यो। तर लामो समयसम्म पनि कुनै स्पष्टीकरण नआउनु नै समस्या बनेको हो।

प्रधानमन्त्रीको उक्त अभिव्यक्ति तपाईंहरूले किन सच्याउन र संसद्को अभिलेखबाट हटाउन माग गरिरहनुभएको हो?

यो विषय कुनै दलको राजनीति वा सरकार-प्रतिपक्षको विवाद मात्र होइन, राष्ट्रहितसँग जोडिएको विषय हो। त्यसैले हामीले यसलाई गम्भीर रूपमा उठाएका छौँ।

मैले संसद्मा पनि पटक पटक भनेको छु- देशभन्दा ठूलो कुनै व्यक्ति हुँदैन। प्रधानमन्त्री पनि राष्ट्रभन्दा माथि हुन सक्नुहुन्न। राष्ट्रको प्रतिनिधित्व गर्ने व्यक्तिले बोलेका शब्दको राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै स्तरमा अर्थ लाग्छ। त्यसैले सीमाजस्तो संवेदनशील विषयमा अत्यन्त सावधानी अपनाउनुपर्छ।

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै नेपालले भारतको भूमि मिचेको आशय व्यक्त गर्नुभएको थियो। मेरो विचारमा यस्तो अभिव्यक्ति नेपालको आधिकारिक धारणा हुन सक्दैन। नेपालले विगतदेखि लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको दाबी गर्दै आएको छ। त्यस्तो अवस्थामा प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले भ्रम सिर्जना गरेको छ।

यसैले हामीले सुरुदेखि नै प्रधानमन्त्रीले उक्त भनाइ सच्याउनुपर्छ र संसद्को अभिलेखबाट हटाउनुपर्छ भन्ने माग राख्दै आएका छौँ।

सरकारले तपाईंहरूको मागलाई खासै महत्व दिएको देखिँदैन नि?

हामीले संसद्भित्र उपलब्ध सबै लोकतान्त्रिक माध्यम प्रयोग गरिरहेका छौँ। पटक पटक ध्यानाकर्षण गराएका छौँ।

तर सरकारले एक कानले सुनेर अर्को कानले उडाएको जस्तो व्यवहार गरिरहेको छ। संसद्को अभिलेखबाट उक्त अभिव्यक्ति हटाइँदैन र प्रधानमन्त्रीले त्यसलाई सच्याउनुहुन्न भने हामी आफ्नो विरोधलाई निरन्तरता दिन्छौँ।

हामीले उठाएको विषय कुनै दलको हितका लागि होइन, राष्ट्रहितका लागि हो।

सरकारले तपाईंहरूको माग सम्बोधन गरेन भने सडक आन्दोलनमा जानुहुन्छ?

राष्ट्रहितको विषयमा आवश्यक परे आन्दोलन पनि लोकतान्त्रिक अधिकार हो। हामी पहिले संसद्भित्र संघर्ष गर्छौँ। संसद्ले नसुने लोकतान्त्रिक रूपमा जनतामाझ पनि जाने विकल्प खुला रहन्छ। हाम्रो उद्देश्य अस्थिरता सिर्जना गर्नु होइन। सरकारलाई आफ्नो गल्ती सच्याउन आग्रह गर्नु हो।

कतिपयले प्रतिपक्षले विरोध मात्रै गर्छ, रचनात्मक भूमिका निर्वाह गर्न सकेको छैन भन्ने आरोप पनि लगाउँछन्। सहमत हुनुहुन्छ?

म त्यससँग सहमत छैन। प्रतिपक्षको भूमिका सरकारको आलोचना गर्नु मात्रै होइन, आवश्यक परामर्श र सुझाव दिनु पनि हो। तर सरकारका गलत निर्णय वा राष्ट्रहितविपरीत देखिएका विषयमा मौन बस्नु पनि प्रतिपक्षको जिम्मेवारी हुँदैन।

आज सामाजिक सञ्जालको प्रभाव धेरै छ। कुनै पनि अभिव्यक्तिको एउटा अंश मात्रै काटेर सार्वजनिक गरिन्छ र त्यसैका आधारमा धारणा बनाइन्छ। तर संसद्मा हामीले उठाएका धेरै गम्भीर विषय ओझेलमा पर्ने गरेका छन्।

हामी जनताका बीचबाट संघर्ष गरेर आएका मानिस हौँ। पुराना राजनीतिक दलहरूले दशकौँसम्म आन्दोलन र बलिदानबाट लोकतान्त्रिक व्यवस्था स्थापना गरेका हुन्। त्यस इतिहासलाई एकै झट्कामा अस्वीकार गर्न मिल्दैन।

३५ वर्षमा तपाईंहरूले केही गर्न सक्नुभएन रे अनि?

देश सञ्चालन र राष्ट्र निर्माण सामाजिक सञ्जालमा देखिएजस्तो सजिलो विषय होइन। सरकार चलाउन अनुभव, नीति र दीर्घकालीन योजना आवश्यक हुन्छ।

म आफैँ कालिकोटबाट आएकी हुँ। सानो छँदा काठमाडौं आइपुग्न धेरै दिन हिँड्नुपर्थ्यो। अहिले अवस्था परिवर्तन भएको छ। विकासका धेरै काम भएका छन्। अझै धेरै गर्न बाँकी छ, त्यो सत्य हो। तर विगतमा केही पनि भएको छैन भन्नु वास्तविकतासँग मेल खाँदैन।

आजका समस्याको समाधान गर्न नयाँ सरकारले परिणाम देखाउनुपर्छ। बहुमत पाएपछि जिम्मेवारी पनि त्यत्तिकै ठूलो हुन्छ। त्यसैले अरूलाई दोष दिनुभन्दा आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्नु सरकारको दायित्व हो।

सरकारले चार महिनामा अपेक्षाअनुसार काम गर्न सकेको छैन भन्ने तपाईंको बुझाइ हो?

हामीले सुरुदेखि नै सरकारलाई काम गर्न दिनुपर्छ भनेका छौँ। तर सरकारले जनतासँग गरेका प्रतिबद्धताअनुसार परिणाम पनि देखाउनुपर्छ।

सय दिनमै सबै समस्या समाधान हुँदैन भन्ने हामीलाई पनि थाहा छ। तर सरकारले कम्तीमा स्पष्ट योजना, प्राथमिकता र कार्यान्वयनको दिशा देखाउनुपर्छ। अहिले जनताले त्यो अनुभूति गर्न सकेका छैनन्। त्यसैले संसद्मा हामीले आवश्यक प्रश्न उठाइरहेका छौँ।

सरकार गठन भएको चार महिना मात्रै भयो। अहिले नै मूल्याङ्कन गर्नु हतार हुँदैन?

हामीले पनि सरकारले काम गर्न पाउनुपर्छ भन्ने मान्यता राख्छौँ। तर जनतासँग गरिएका प्रतिबद्धताअनुसार कामको दिशा देखिनुपर्छ। सय दिनमै सबै समस्या समाधान हुन्छ भन्ने अपेक्षा कसैले गरेको छैन।

तर सरकारले कुन क्षेत्रमा के काम गरिरहेको छ भन्ने स्पष्ट देखिनुपर्छ। जनताले परिवर्तनको अनुभूति गर्न पाउनुपर्छ।

 

‘द पिपुल पर्सन शुल्ड बी अल्वेज विदिन द पिपुल।’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारको नियतमा प्रश्न नभए पनि राज्य सञ्चालनको शैलीमा कमजोरी देखिएको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राज्य सञ्चालनको मूलमन्त्र राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास हुनुपर्ने बताए। सरकारको उद्देश्य र इमानदारीमा शंका नभए पनि कार्यशैली सुधार गर्न आवश्यक रहेको उनको भनाइ थियो।

सांसद झाले आफूलाई के थाहा छैन भन्ने कुरा स्वीकार गरेर सिक्ने संस्कार विकास गर्नुपर्ने उल्लेख गर्दै निरन्तर सिकाइ र आत्मसुधार नै सफल शासनको आधार भएको बताए।

सांसद झा को भनाइ जस्ताको तस्तै :

‘राज्य प्रणालीमा, राज्य सञ्चालनमा, संविधान र लोकतन्त्रको संरक्षणमा के मूलमन्त्र आवश्यक छ भनेर हेर्दा राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास। यो दुईटा कुरा लक्षित मूल मन्त्र राखेर हामीले आफ्नो राज्य सञ्चालन, सबै पद्धतिहरूलाई, सबै कुराहरूलाई यसमा केन्द्रित गर्‍यौँ भने अलि केही हामी हासिल गर्न सक्छौँ।

‘अहिलेको कुरामा इन्टिग्रिटीको प्रश्न छैन। इन्टिग्रिटीमा कुनै पनि शंका छैन। इन्टेन्सनमा पनि कुनै प्रश्न छैन। तर कता-कता ढंग नपुगेको हो कि! भन्ने चाहिँ लाग्छ। र, त्यो स्वीकार्नुपर्छ।

इफ यु डन्ट नो, ह्वाट यु डन्ट नो, देन यु डन्ट नो। रियली, यु डन्ट नो ह्वाट यु डन्ट नो। त्यसैले गर्दाखेरी मलाई के थाहा छैन भन्ने कुरा आफूले जान्नुपर्दछ। र, त्यो कुरा सिक्नुपर्दछ।

यो सुन्दर विचार गुगलको सीईओले भन्नुहुन्छ, ‘द डे यु फिल द्याट यु ह्याभ लर्न्ट एभ्रिथिङ, यु आर अलमोस्ट डेड।’ जुन दिन तपाईं यो सोच्नुहुन्छ कि तपाईंलाई सबै चिज थाहा छ, त्यो दिन तपाईं मृत्युसमान हो। त्यसैले गर्दाखेरी हामीले हरेक दिन यो राज्य प्रणालीको सञ्चालनका कुराहरूमा अझै ढंग सुधार्नुपर्छ कि जस्तो लाग्छ।

समाज शिक्षित नभएसम्म त्यहाँ राजनीति जीवित रहँदैन। यदि राजनीति जीवित छैन भने लोकतन्त्र जीवित हुँदैन। यदि लोकतन्त्र जीवित छैन भने त्यस्तो समाजमा सामाजिक सन्तुलन जीवित रहँदैन। समाजमा सामाजिक सन्तुलन छैन भने सामाजिक न्याय जीवित रहँदैन। सामाजिक न्याय जीवित छैन भने वृद्धि र विकास हुँदैन।

हामीले वृद्धि र विकासको भिन्नता पनि बुझ्नुपर्दछ। यहाँ चन्द्रागिरिको डाँडाबाट काठमाडौँ उपत्यका हेर्दै गर्दाखेरी सबैतिर फैलिएको देखिन्छ। त्यो वृद्धि हो। तर त्यहाँ एउटा संरचना एउटा योजनाअनुसार छ कि छैन भनेर हेर्दा कतै पनि देखिँदैन। घरहरू हेर्दा त्यो संरचना योजनाबेगर आफ्नै तरिकाले वृद्धि भएको देखिन्छ।

पहिला–पहिला काठमाडौँ उपत्यकाभित्र ठूला-ठूला दरबार बन्थे। ठूला–ठूला संरचनाहरू बन्थे। तर त्यही डाँडापारि धादिङमा विद्यालय र अस्पताल पनि थिएन। त्यो वृद्धि थियो, विकास थिएन। किनकि त्यहाँ सन्तुलन थिएन। त्यहाँ दिगोपन थिएन। अहिले दिगोपन र सन्तुलन विकासमा आवश्यक छ।

तर त्यो गर्दैगर्दा त्यसको स्टेकहोल्डर को-को हो त? कसको-कसको कारण त्यो दिगोपन हुन सक्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ र त्यसको सम्मान गर्न जान्नुपर्छ। यो देशमा अहिले सन्तुलित र समुन्नत विकासका लागि दिगोपनका स्टेकहोल्डरहरू- एउटा मधेस छ। अर्को प्रवास छ। अर्को निजी क्षेत्र छ।

तर हेर्नुस् न, दुर्भाग्य! तिनै असुरक्षित छन्।

मधेसमा भर्खरै आगो बल्यो। हामीले जसोतसो निभाउन सक्यौँ। तर म सरकारलाई यही सम्मानित सदनबाट सन्देश दिन चाहन्छु- आगो निभेको हो, दाउरा निभ्या छैन। त्यसैले गर्दाखेरी त्यसमा सचेत भइराख्नुस्। अब त्यहाँ २५ रुपैयाँको चिप्स खोसिन्छ।

तर सन्तुलन छैन भन्ने कुरा हेर्नुस् न, एयरपोर्टमा त ब्लु लेबल र ल्यापटप ल्याउन दिनुभएको छ। हाम्रो बोर्डरमा २५ रुपैयाँको चिप्स किन खोस्दैछ सीमामा रहेको सुरक्षाकर्मीले? किन सन्तुलन छैन? किन बोर्डरमा आउने गरेको गरिबलाई त्यो व्यवहार गरिन्छ र एयरपोर्टमा आउँदै गरेको धनीलाई अर्को व्यवहार गरिन्छ?

कहाँसे आते है ये लोग? और कहाँसे आते है ये सोच? भन्ने ठुलो प्रश्न सोध्दैछन् जनताले। किन असन्तुलन छ? त्यो व्यवहार किन सन्तुलित छैन?

यो डिस्पोजेबल इन्कम मधेसमा एकदम धेरै छ। खर्चलायकको आम्दानी। र खर्चलायकको आम्दानीलाई हामीले जबसम्म सामान्य अर्थतन्त्रमा ल्याउन सक्दैनौँ, त्यो समाजमा ड्रग्स, मदिरालगायत अरू खर्चहरू धेरै देखिन्छन्। त्यो मधेसमा देखिएको छ।

जसरी अहिले यो चिठ्ठा दिएर करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन गरिँदैछ, त्यसरी नै रेमिट्यान्सलाई पनि फर्मल इकोनोमीमा रूपान्तरण गर्नका लागि २००६/००७ मा बंगलादेशले ‘क्यास ब्याक अफर’ गरेको थियो। त्यो अफर हाम्रोमा पनि गरोस्। खर्चलायकको आम्दानी कम होस् र फर्मल इकोनोमीमा धेरै आएपछि समाज धनी हुनु जति आवश्यक छ, त्यसमा संस्कार र सभ्यता पनि त्यत्तिकै आवश्यक हुन्छ।

यदि समाजमा पैसा धेरै भयो तर सभ्यता छैन भने त्यो जोखिम भोलि हरेक नेतृत्वले बहन गर्नुपर्छ। र, अर्को के भन्छ भने जुन देश अविकसित छ, त्यो देशमा हरेक जनताको आशा राजनीतिज्ञसँग हुन्छ। नेतृत्वसँग हुन्छ। उ पिपुल्स पर्सन हुनुपर्छ।

अमेरिका, बेलायत, फ्रान्स, जापानजस्ता विकसित देशहरूमा राजनीतिज्ञलाई नचिनेर पनि दैनिकी सामान्य रहन सक्छ। तर हामीजस्तो देशमा यदि राजनीतिज्ञलाई चिन्दैन भने दैनिकी सामान्य हुँदैन। त्यो कमजोर राज्यको एउटा सूचक हो। त्यसैले यो कमजोर राज्यमा यदि सामाजिक न्याय, सामाजिक सन्तुलन, दिगो विकास र लोकतन्त्र, यी सबै कुरा छैनन् भने त्यो कमजोर राज्य हो।

‘द पिपुल पर्सन शुल्ड बी अल्वेज विदिन द पिपुल।’

जननिर्वाचितहरू जनतासँग कनेक्टेड हुनुपर्छ। हामीले हाम्रो सवारी साधनको कालो सिसा त हटायौँ, कालो स्टिकर त हटायौँ। अब सम्भवतः कालो चस्मा पनि हटाउनुपर्छ, यो आवश्यक छ। त्यसैले गर्दाखेरी यो राज्य सन्तुलित हुँदैन र हामीले समुन्नत विकास गर्न सक्दैनौँ भने यी राजनीतिक उपलब्धिहरू नरहन सक्छन्।

अर्को प्रवासको कुरा। प्रवासको गर्दैगर्दा म पोखरण १९९८ को भारतको परमाणु परीक्षण हुँदै गर्दाखेरी त्यसपछि अन्तर्राष्ट्रिय जगतले भारतमा लगाएको आर्थिक नाकाबन्दी। त्यसपछि आर्थिक रूपमा एकदमै असुरक्षित भयो भारत। त्यो बेला त्यहाँको सेन्ट्रल बैंकले बन्ड निकाल्यो र त्यो बन्ड ४ सय ८० करोड चाहिँ एनआरआईले खेलिदियो। त्यसपछि त्यहाँका एनआरआईले कसरी देशलाई थेग्न सक्छन् भन्ने देखायो।

हाम्रो प्रवास पनि निकै सबल भइसकेको छ। राज्यले अहिले पनि नेपालीहरू त्यहाँ कामदार नै छन् भन्ने सोच्छ। तर, भर्खरै अमेरिका यात्रामा मैले केही नेपाली भेटेँ, जसका प्राइभेट जेट छन्। नेपालीहरू त्यहाँ पुगिसके।

अब उहाँहरूलाई स्वागत गर्नुपर्‍यो। अलि वार्म हुनुपर्‍यो उहाँहरूप्रति। नागरिकता, भिसा, लगानी र शेयर बजारलगायतका समस्यामा हामी प्रवासी नेपालीप्रति अलि सफ्ट भयौँ भने हाम्रो वार्षिक जीडीपी जति छ, त्यसको तीन गुणा उहाँहरूसँग लगानी छ। लगानीको क्षमता छ।

र अन्तिममा निजी क्षेत्र। निजी क्षेत्र त्रसित छ। प्रहरी देखेपछि म सुरक्षित छु भन्ने सोच्नुपर्ने नागरिकहरू प्रहरी देखेर तर्सिन्छन्। कुन बेला धरपकड गर्ला, कुन बेला मेरो घरमा छापा मार्ला भनेर।

निजी क्षेत्रलाई आत्मविश्वास दिनुस् न। भएको पैसा खर्च गर्न दिनुस्। बैंकमा भएको पैसा लगानी गर्न दिनुस्। यो वातावरण दिनुस्। यो आवश्यक छ। अर्थ मन्त्रालयबाट केही प्रयासहरू भइराखेका छन्। तर त्यो प्रयास पेपरमा मात्र छ, व्यवहारमा देखिएको छैन।

लोकतन्त्र, सन्तुलित विकास, सबै चिजका लागि मधेस, प्रवास र निजी क्षेत्र। यी तीनवटालाई एउटा साझेदारका रूपमा लिएर सरकारका तर्फबाट राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वासलाई मूलमन्त्र राखेर प्रयास गरियोस्।’

घरघरमा स्वास्थ्य परीक्षण र छाडा कुकुर नियन्त्रण गर्न सरकारसँग सांसद भूमिका लिम्बू सुब्बाको माग

काठमाडौं । नेकपा एमालेकी सांसद भूमिका लिम्बू सुब्बाले पाँचथर जिल्लामा फैलिएको रेबिज संक्रमणप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग गरेकी छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले पाँचथरको फाल्गुनन्द गाउँपालिकामा रेबिज संक्रमित कुकुरको टोकाइबाट सयौँ पशुचौपाय संक्रमित भएको र हालसम्म ३५ भन्दा बढी पशु मरेको जानकारी दिइन् । उनका अनुसार फिदिममा तीन जना मानिस, ५५ भन्दा बढी कुकुर तथा एउटा भैंसीमा समेत रेबिज संक्रमण पुष्टि भइसकेको छ । हिलिहाङ र कुम्मायक गाउँपालिकामा पनि संक्रमण देखिन थालेपछि जिल्लाभर त्रास फैलिएको उनले बताइन् ।

‘रेबिज संक्रमित कुकुरको र्यालबाट पनि संक्रमण हुने भएकाले किसानहरूले सावधानीका लागि जुत्ता, मास्क र ग्लोभ्स प्रयोग नगर्दा संक्रमण अझ फैलिएको अनुमान गरिएको छ,’ सांसद सुब्बाले भनिन् ।

उनले सरकारले तत्काल घरघरमा स्वास्थ्यकर्मी परिचालन गरी किसानहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारको व्यवस्था गर्नुपर्ने माग गरिन् । साथै, छाडा कुकुरहरूको नियन्त्रण, रेबिजविरुद्धको खोप व्यवस्थापन र जनचेतनामूलक अभियान सञ्चालनलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरिन्।

‘म सरकारसँग जोडदार माग गर्दछु कि घरघरमै स्वास्थ्यकर्मी पठाइ किसानहरूको स्वास्थ्य परीक्षण गरी उपचारको व्यवस्था मिलाइयोस् । छाडा कुकुरहरूको नियन्त्रण चाँडो गरियोस् र संक्रमण रोक्न जनचेतनामूलक अभियान चलाइयोस्,’ उनले भनिन्।