`

हर्क साम्पाङको पार्टीको मुख्य सिद्धान्त ‘हर्कवाद’

विराटनगर । श्रम–संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरका मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नो राजनीतिक दर्शन ‘हर्कवाद’ लाई औपचारिकरूपमा सार्वजनिक गर्दै पार्टीको पूर्ण अवधारणा, नीति तथा दीर्घकालीन शासन मोडेल प्रस्तुत गरेका छन् ।

मंगलबार धरानमा आयोजित पत्रकार सम्मेलन तथा विराटनगरमा गरिएको बृहद् सार्वजनिक कार्यक्रममा साम्पाङले देश निर्माणको आधार ‘अनिवार्य श्रम, श्रमदान र स्वदेशी उत्पादन’ हुनुपर्ने स्पष्ट गर्दै ‘प्रकृति–संस्कृति–प्रविधिको समन्वित विकास’ नै हर्कवादको मूल आत्मा भएको बताए ।

साम्पाङका अनुसार समाजमा व्याप्त अभाव, गरिबी, विभेद र त्यसबाट जन्मिने द्वन्द्व, अशान्ति तथा विनाशको अन्त्य केवल श्रम र सामूहिक श्रमदानको संस्कारबाट सम्भव छ । पहुँच र शक्तिको प्रभावमा हुने असमान विकासलाई अन्त्य गरी गाउँ–घर केन्द्रित योजना, स्थानीय उत्पादन र श्रममूलक सहभागिताले मात्रै समृद्धि देखिने उनले दाबी गरे । उनको भनाइमा, ‘देशको ढुंगामाटोमा श्रम रोपेर स्वाधीनता र समृद्धिको भविष्य फलाउने सूत्र नै हर्कवाद हो ।’

शासकीय मोडेल : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति
पार्टीले कार्यकारी अधिकारसहितको प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था अघि सारेको छ ।
राष्ट्रपतिको कार्यकाल ५ वर्ष र अधिकतम दुई कार्यकाल ।
राष्ट्रपति–उपराष्ट्रपति फरक जाति तथा लिङ्गका अनिवार्य ।
राष्ट्रपति चाहे विज्ञ, चाहे सांसद, जसलाई पनि लिन सक्ने गरी लचिलो मन्त्रिपरिषद् ।
सांसद मन्त्री बनेमा सांसद पद निलम्बन हुने व्यवस्था ।
संघमा दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक संरचना ।

पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी प्रतिनिधित्व
खसआर्य, आदिवासी, जनजाति, मधेशी, दलित, मुस्लिम र सीमान्तकृत समुदायको अधिकार सुनिश्चित हुनेगरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्ने पार्टीको योजनामा छ । प्रतिनिधिसभामा जनसंख्याको अनुपातमा १०० प्रतिशत समानुपातिक प्रतिनिधित्व रहने प्रस्ताव समावेश छ ।

राष्ट्रियता, सुरक्षा र परराष्ट्र नीति
पार्टीले भौगोलिक अखण्डता र सीमा सुरक्षालाई प्राथमिकतामा राख्दै नेपाली सेनालाई सीमा क्षेत्रमा परिचालन गर्ने बताएको छ ।
असंलग्न परराष्ट्र नीति कायम ।
विवाह आधारित नागरिकता पाँच वर्ष बसाइ र पुरानो नागरिकता त्यागेपछि मात्र ।
देशभर क्रियाशील सबै आइएनजिओ खारेज गर्ने कडा एजेन्डा ।

शिक्षा : हप्तामा ३ दिन पढाइ, ४ दिन उत्पादन–सिर्जनामा लगानी ।
शिक्षामा आमूल परिवर्तन गर्दै हप्तामा तीन दिन मात्र अध्यापन र चार दिन उत्पादन, निर्माण तथा साहित्यिक गतिविधिमा लगाइनेछ ।
१२ कक्षासम्म खाना पकाउने र लुगा सिउने जस्ता जीवनपयोगी सीप अनिवार्य ।
१२ कक्षा पछि अनिवार्य सैनिक तालिम, त्यसपछि मात्र उच्च शिक्षा ।
शिक्षकलाई राजनीतिमा संलग्न हुन नदिने व्यवस्था ।
जेन–जी पुस्ताका गुनासो सुन्न ‘युवा आयोग’ गठन ।

अर्थतन्त्र र श्रम : ‘एक गाउँ, एक उद्योग’ र ‘एक घर, एक स्वरोजगार’
श्रम–संस्कृति पार्टीले श्रमलाई आर्थिक विकासको मूल चालक मान्दै वैज्ञानिक कर प्रणाली लागू गर्ने बताएको छ ।
धनीबाट बढी कर, गरिबलाई संरक्षण ।
सबै नागरिक श्रमदानमा सहभागी ।
‘एक गाउँ एक उद्योग’ र ‘एक घर एक स्वरोजगार’ कार्यक्रम ।
स्वदेशी उत्पादनलाई प्राथमिकता, सरकारी खर्च मितव्ययी ।
श्रम गर्नेहरूलाई निःशुल्क स्वास्थ्य सेवा, गरिबलाई गास–बास–कपासको ग्यारेन्टी ।
निःशर्त मात्र विदेशी लगानी स्वीकार ।

सुशासन, धर्मनिरपेक्षता र प्रशासनिक सुधार
राज्य धर्मनिरपेक्ष रहने तर कसैलाई करकापमा धर्म परिवर्तन गर्न नदिने व्यवस्था कडाईका साथ लागू गरिनेछ ।
पत्रकार, सरकारी कर्मचारी र न्यायालयलाई गैरराजनीतिक बनाइनेछ ।
गल्ती गर्ने कर्मचारीलाई सरुवा मात्र होइन, जागिर नै खोसिने कडा अनुशासन ।
सरकारी बैठक तथा निर्णय प्रक्रियालाई खुलेर लाइभ प्रसारण गर्ने पारदर्शिता ।
हर्क साम्पाङले प्रस्तुत गरेको ‘हर्कवाद’ आधारित शासन मोडेल देशको समृद्धि, समानता र श्रम–संस्कृतिमा आधारित नवीन वैकल्पिक राजनीतिक धारा भएको दाबी पार्टीले गरेको छ ।

कुलमानको चुनाव चिह्नबारे ओलीको कटाक्ष : फ्युज गएको चिम

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको राजनीतिक अवस्था सुधार्नु पर्ने बताएका छन् । एमालेको वन तथा वातावरण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देशमा राजनीतिक मुहान बिग्रिएको बताएका छन् ।

उनले उज्यालो नेपाल पार्टीप्रति कटाक्ष गर्दै भने, ‘हिपोक्रेसीको कस्तो जमाना छ । ओहो उज्यालो नेपाल, सिम्बोल पनि चिम राख्ने । फ्युज गएको चिम । कति साह्रो नेपाली जनतालाई यस्ता यस्ता अवस्थाबाट गुज्रिरहेका छौं । यस परिस्थितिलाई करेक्सन गर्नुपर्छ ।’

ओलीले अहिलेको सरकारले देशको स्वार्थलाई मासेर अराजकता, वितण्डा र आगजनी फैलाएको टिप्पणी गरे। देशलाई सही ट्रयाकमा फर्काउन संसद् पुनर्स्थापनाको विकल्प नभएको पनि दोहोर्‍याएका छन् । उनले भने, ‘अवैध र अनधिकृत रूपमा सिफारिस गरिएको संसद् विघटनविरुद्ध बोल्न नसक्ने हो भने नेपाली डिक्सनरीबाट ’सत्य’ भन्ने शब्द डिलिट गर्नुपर्छ ।’

पाकिस्तानमा नोभेम्बर महिनाको मुद्रास्फीति ६.१ प्रतिशत पुग्यो

इस्लामाबाद । पाकिस्तानमा नोभेम्बर महिनामा उपभोक्ता मूल्य वृद्धि वार्षिक रूपमा ६.१ प्रतिशत पुगेको पाकिस्तान तथ्याङ्क विभागले जनाएको छ । उक्त दर अक्टोबरमा दर्ता भएको ६.२ प्रतिशतभन्दा हल्का कमी हो ।

विभागका अनुसार महिनाभरि आधारमा उपभोक्ता मूल्य ०.४ प्रतिशतले बढ्यो, जबकि अघिल्लो महिनामा १.८ प्रतिशतले वृद्धि भएको थियो ।

ग्रामिण क्षेत्रमा मुद्रास्फीति वार्षिक रूपमा ६.३ प्रतिशत पुगेको छ, जुन अक्टोबरमा भएको ६.६ प्रतिशतभन्दा केही कम भए पनि गत वर्षको सोही महिनामा दर्ता भएको ४.३ प्रतिशतभन्दा धेरै हो । महिनाभरि आधारमा ग्रामीण मुद्रास्फीति ०.२ प्रतिशतले बढेको छ, जुन अघिल्लो महिनाको २.३ प्रतिशत वृद्धिभन्दा निकै कम हो ।

आवश्यक उपभोग्य वस्तुको मूल्य मापन गर्ने संवेदनशील मूल्य सूचकाङ्क नोभेम्बरमा वार्षिक रूपमा ४.२ प्रतिशतले बढेको छ । यो दर अक्टोबरको ४.८ प्रतिशत तथा गत वर्षको ७.३ प्रतिशतभन्दा कम हो । महिनाभरि आधारमा यस सूचकाङ्कमा ०.४ प्रतिशत वृद्धि भएको छ, जुन अघिल्लो महिनाको ०.९ प्रतिशत वृद्धिभन्दा कम हो ।

मधेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने बताएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतको आदेश अनुसार बुधबार  दिउसो २ बजे विश्वासको मत लिने गरि व्यवस्था गर्न प्रदेश सभामा पत्र पठाएको जानकारी दिएका हुन् ।

यादवले आफुले विश्वासको मत पाउने दाबि गर्दै आफुले बुधबार विश्वासको मत लिने बताएका हुन् । यादवले आफुले सर्वोच्चको आदेश नपाएपछि आफ्नै अनुरोधमा प्रतिलिपि मगाएर विश्वासको मत लिन बैठक राखिदिन प्रदेश सभालाई आफुले पत्र लेखेको बताएका हुन् ।

उनले आफुले दलहरुसँग छलफल मै रहेको र भोली बिहानसम्म दलहरु पनि विश्वासको मत दिने नदिने स्पष्ट हुने बताएका छन् ।

पाकिस्तानमा एचआइभी सङ्क्रमितको सङ्ख्या दुई सय प्रतिशतले बढ्यो : डब्ल्यूएचओ

इस्लामाबाद(पाकिस्तान) ।  विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ)ले पाकिस्तानको पूर्वी भूमध्यसागरीय क्षेत्रमा ह्युनन इम्युनोडेफिशियन्सी भाइरस (एचआईभी) को महामारी बढेको उल्लेख गर्दै पछिल्लो १५ वर्षमा नयाँ सङ्क्रमण २०० प्रतिशतले बढेको जनाइएको छ । सन् २०१० मा १६ हजार एचआइभी सङ्क्रमितको सङ्ख्या भएकोमा २०२४ मा यो सङ्ख्या बढेर ४८ पुगेको डब्ल्यूएचओले जनाएको छ ।

यो जानकारी विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० र युएनएड्सले विश्व एड्स दिवस मनाउन आयोजना गरेको कार्यक्रमका सहभागीहरू विच सार्वजनिक गरेको हो ।

एचआइभीले विगतमा मुख्यतया उच्च जोखिममा रहेको मानिसहरुलाई असर गरेको भएता पनि हाल बाबालीका र वृद्धवृद्धा लगायत समग्र समुदायलाई असर गरिरहेको जनाइएको छ । मुख्यतया असुरक्षित रक्त आदान प्रदान इन्जेक्शन, सङ्क्रमण रोकथाम र नियन्त्रणमा कमी, असुरक्षित यौन गतिविधि लगायतका कारणले एचआइभी को सङ्क्रमण बढ्दै गएको डब्लुएचओले जनाएको छ ।

डब्लुएचओ र युएनएड्सले पाकिस्तानको स्वास्थ्य मन्त्रालयसँग मिलेर यो दिवस मनाउन सहयोग गरेको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयका महानिर्देशक आयशा इसानीले यो रोगलाई एक्लैले सम्बोधन गर्न नसक्ने बताउदै यसमा समुदाय र स्वास्थ्य नियामक अधिकारीहरू संलग्न हुनुपर्ने बताएका छन् । इन्जेक्सन र रगत संक्रमणमा असुरक्षित अभ्यासहरू हटाउन सामूहिक प्रयासहरू आवश्यक रहेको बताउदै उनले चिकित्सकहरूलाई पनि संलग्न गरी पाकिस्तानी नागरिकलाई स्वस्थ र एचआईभी मुक्त भविष्य प्रदान गर्ने बताएका छन् ।

पाकिस्तानमा करिव तीन लाख ५० हजार व्यक्तिहरू एचआईभी सङ्क्रमित भएर बाँचिरहेको भएता पनि ८०५ प्रभावितलाई उनीहरुको आफ्नो स्थितिको बारेमा अन्जान रहेको जनाइएको छ ।

पछिल्लो दशकमा, पाकिस्तानमा एन्टीरेट्रोभाइरल थेरापी (एआरटी) प्राप्त गर्ने एचआईभी सङ्क्रमितहरुको संख्या आठ गुणाले बढेको तथा सन् २०१३ मा करिब छ हजार ५०० बाट २०२४ मा ५५ हजार ५०० पुगेको जनाइएको छ ।

एन्टीरेट्रोभाइरल थेरापी केन्द्रहरूको सङ्ख्या पनि सन् २०१० मा १३ बाट बढेर सन् २०२५ मा ९५ पुगेको जनाइएको छ । सन् २०२४ मा, डन पत्रिकाले एड्स रोगका कारण एक हजार १०० भन्दा बढीको मृत्यु भएको रिपोर्ट गरेको थियो ।

पछल्लो समयमा नयाँ केशहरमा वृद्धि हुनुका साथै बच्चाहरूमा समेत यो रोगले असर गरेको जनाइएको छ भने एचआइभी सङ्क्रमणको जोखिममा बाँचिरहेका ०–१४ वर्षका ३८ प्रतिशत बच्चाहरूले मात्र उपचार प्राप्त गरिरहेको डनले जनाएको छ ।

रोसिङटनको शतकमा पोखराले कर्णालीलाई दियो २०२ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै २०१ रन बनायो ।

यस क्रममा पोखराका आडम रोसिङ्टनले शतक प्रहार गरेका छन् । उनले १८ ओभर ६ बलमा कर्णाली याक्सका नन्दन यादवलाई चौका प्रहार गर्दै शतक पूरा गरे । यस क्रममा उनले ११ चौका र छ छक्का प्रहार गरे ।

त्यसैगरी, जेसन रोयले पोखराका लागि ४६ रन बनाए । ३४ बलको सामना गरेका उनले दुई चौका र तीन छक्का प्रहार गरे ।

कर्णालीका नन्दन यादव र मार्क वाटले समान एक विकेट लिए ।

पारिवारिक कथामा आधारित चलचित्र ‘हर्ष’ देशभर प्रदर्शित

काठमाडौं । पारिवारिक कथामा आधारित चलचित्र ‘हर्ष’ यही मङ्सिर १२ गतेदेखि देशभर प्रदर्शनरत छ ।

अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउत रहेको उक्त चलचित्रको निर्देशक एकता पौडेलले हुन् ।

स्वर्गीय निर्देशक शिव रेग्मीको भाञ्जीसमेत रहेको निर्देशक पौडेलले पहिलो निर्देशकीय चलचित्रमा सामाजिक विषयलाई स्थान दिएको बताए । ‘मसँग रहेका आधा दर्जनभन्दा बढी पटकथामध्ये ‘हर्ष’लाई छनोट गरेँ । चलचित्रको कथावस्तु र पात्रसँग दर्शक जोडिनेमा विश्वस्त भएर नै मैले सामाजिक विषय रोजेकी हुँ’, निर्देशक पौडेलले भने ।

उनले पछिल्लो समय समाजमा रहेका नकारात्मक र सकारात्मक पक्षलाई चलचित्रमा समेटेर राम्रो सन्देश दिएको बताए । उनले भने, ‘मेरो चलचित्र पारिवारिक हो, संवेदनशील विषयवस्तुसहित मन छुने कथा उजागर गर्न प्रयास गरेकी छु । आगामी समयमा यसको प्रभाव पक्कै पर्छ भन्ने लागेको छ । चलचित्रमा उठाइएका विषयमा सार्वजनिक बहस हुन आवश्यक छ । चलचित्रले जटिल सिद्धान्तजस्तो होइन, सरल तर प्रभावकारी शैलीमा मनोरञ्जनसहित कुरा भन्छ ।’

नेपाली समाजमा वंश निरन्तरताका क्रममा अवरोध आउँदा परिवार र समाजले गर्ने प्रतिक्रिया तथा त्यसले सिर्जना गर्ने मनोवैज्ञानिक दबाबलाई चलचित्रमा देखाएको छ । अभिनेत्री वर्षा राउत चलचित्रमा बुहारीको भूमिकामा छन् । ‘केन्द्रीय भूमिका भएपछि दर्शकले मेरो अभिनयलाई अलि ध्यान दिएर हेर्नुभएको जस्तो लागेको छ । अघिल्ला चलचित्रको तुलनामा सुधार गरेको प्रतिक्रिया पाएकी छु, दर्शकले समाजको एउटा देखाउनै पर्ने कथा भनेर तारिफ गर्नुभएको छ’, अभिनेत्री राउतले स्पष्ट गरिन् ।

उक्त चलचित्रमा अभिनेत्री राउतसँगै खगेन्द्र लामिछाने, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जनलगायतका कलाकारले अभिनय गरेका छन् ।

कर्णालीविरुद्ध पोखरा एभेन्जर्सका ओपनर एडम रोसिङटनको शतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा पोखरा एभेन्जर्सका ओपनर एडम रोसिंटनले कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका छन् ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको पोखराका रोसिंटनले कर्णालीविरुद्ध ५५ बलमा १०० रन पूरा गरेका हुन् । यसक्रममा उनले ११ चौका र ६ छक्का प्रहार गरेका छन्  ।

योसँगै रोसिंटन एनपीएलको दोस्रो संस्करणमा शतक बनाउने दोस्रो ब्याटर बनेका छन् । यसअघि कणालीका मार्क वाटले लुम्बिनी लायन्सविद्ध शतक बनाएका थिए ।

जारी खेलको १९औँ ओभर समाप्त हुँदा पोखराले एक विकेट गुमाएर  रन बनाएको छ । रोसिंटनसँगै क्रिजमा रहेका धनञ्जय लक्षण १४ रनमा खेलिरहेका छन् ।

महाधिवेशनमार्फत जनता एमालेको पक्षमा छ भन्ने सन्देश दिन चाहन्छौ: शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको एघारौँ महाधिवेशनको उद्घाटन सभामा सहभागी हुने सबैलाई आह्वान गरेका छन् ।

मंगलबार पार्टी मुख्यालय च्यासलमा पार्टीको वन तथा वातावरण विभागले मंगलवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेका हुन् ।

एमालेको महाधिवेशन उद्घाटन कार्यक्रम भक्तपुरका सल्लाघारीस्थित तीनकुनेमा आगामी मंसिर २७ गते हुँदैछ । सो सभालाई एमालेले प्रतिगमन विरुद्धको संघर्षको उत्कर्ष र उत्सवको रुपमा मनाउन चाहेको महासचिव पोखरेलको भनाइ थियो ।

‘हाम्रो पार्टीको एघारौँ महाधिवेशनको उदघाटन सत्र भक्तपुर सल्लाघारीको तीनकुने चौरमा नेपालको इतिहासकै सर्वाधिक जमघट भएको समारोहको रुपमा आयोजना गर्न चाहन्छौँ । वास्तवमा नेपालका प्रमुख दलहरुसँग जनता छ कि छैनन् भन्ने कुराको सन्देश हामी त्यो सभाको माध्यामबाट दिन चाहन्छौँ,’ पोखरेलले भने ।

उनले सो सभामार्फत एमालेले ठूला दलहरुको पक्षमा जनमत छन भन्ने सन्देश दिन चाहेको पनि स्पष्ट पारे । महासचिव पोखरेलले सो सभामा जनता, लोकतन्त्र र देशभक्तिको पक्षमा रहेकाहरु सबै उपस्थित हुने विश्वास समेत व्यक्त गरे ।

‘त्यो प्रतिगमन विरुद्धको संघर्षको पनि उत्कर्ष हुनेछ । र त्यो हाम्रो पार्टी जीवनको एउटा उत्सव हुनेछ । संघर्ष र उत्सवको एउटा क्लाईमेक्सको रुपमा त्यो सभालाई हामीले बनाउन खोजिराखेका छौ । म देशभरका जनताका पक्षधर, लोकतन्त्रका पक्षधर, देशभक्तिका पक्षधर सम्पूर्ण नेपाली जनतालाई नेकपा एमालेको त्यो उद्घाटन सत्रमा आमन्त्रण गर्न चाहन्छु,’ उनले भने ।

एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी

बैङ्कक । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बारे रहेको व्यापक उत्साहका बीच यसको प्रभावले विश्वका धनी र गरिबबीचको दुरूह अन्तरलाई अझै फराकिलो बनाउन सक्ने कठोर वास्तविकता संयुक्त राष्ट्र विकास कार्यक्रम(युएनडिपी) को नयाँ प्रतिवेदनले औँल्याएको छ ।

प्रतिवेदनअनुसार एआई प्रविधिको उपयोगले आधारभूत आवश्यकताहरू र उन्नत ज्ञानको पहुँचमा रहेको गहिरो खाडललाई घटाउने ठोस कदम नचालेसम्म यस प्रविधिको अधिकांश लाभहरू धनी राष्ट्रहरूले नै प्राप्त गर्ने सम्भावना छ ।

प्रतिवेदनले वर्तमान अवस्थालाई औद्योगिक क्रान्तिको ‘ग्रेट डाइभर्जेन्स’ सँग तुलना गर्दै जब पश्चिमी मुलुकहरू तीव्र विकासतर्फ उन्मुख हुँदा धेरै राष्ट्रहरू पछि परेका थिए भनी चेतावनी दिएको छ । आज एआईले रोजगारी, उद्योग र मानव जीवनको संरचना परिवर्तन गर्ने चिन्ताबीच प्रविधिको उपयोग कसरी हुने भन्ने प्रश्न विश्वव्यापी रूपमा दृष्टिगोचर भइरहेको छ ।

मुख्य लेखक लन्डन स्कुल अफ इकोनोमिक्सका माइकल मुथुकृष्णका अनुसार प्रविधिमा केन्द्रित सोचले मानिसलाई नै प्राथमिकता दिनुपर्ने मूल दृष्टिकोण ओझेलमा पारेको छ । “हामी प्रविधि होइन, मानिसहरूलाई पहिलोमा राख्ने कुरा छुटाइरहेका छौँ”, उनले बैङ्ककमा आयोजित प्रतिवेदन सार्वजनिक कार्यक्रममा भनेका छन् ।

एआईको विकासले त्यस्ता समुदायलाई थप जोखिममा पार्न सक्छ, जहाँ आज पनि मानिसहरू सीप, शिक्षा, बिजुली, इन्टरनेट र आधारभूत सेवा पहुँचको अभावसँग जुझिरहेका छन् । युद्ध, द्वन्द्व र जलवायु प्रकोपका कारण विस्थापित मानिसहरू ‘डेटामा अदृश्य’ बन्न सक्ने पनि प्रतिवेदनको निष्कर्ष छ, जसले तिनको आवश्यकता नदेखिने अवस्था सिर्जना गर्छ ।

यद्यपि, प्रतिवेदनले एआईले कृषि सल्लाह, स्वास्थ्य परीक्षण, रोग निदान, मौसम पूर्वानुमान र विपद् मूल्याङ्कनमा महत्त्वपूर्ण सुधार ल्याउन सक्ने सम्भावना औँल्याएको छ । गरिबी नाप्ने, स्वास्थ्य जोखिम विश्लेषण गर्ने र सार्वजनिक निर्णयलाई छिटो तथा पारदर्शी बनाउने क्षमताले एआईले समाजमा ठूलो मूल्य थप्न सक्छ ।

तर धनी मुलुकहरूमै पनि चिन्ताहरू कम छैनन् । अत्यधिक ऊर्जा र पानी प्रयोग गर्ने डेटा सेन्टरहरूका कारण पर्यावरणीय दबाब बढ्ने, जीवाश्म इन्धनको प्रयोग तीव्र हुनसक्ने तथा ग्लोबल वार्मिङ नियन्त्रणमा गरिएको प्रगति कमजोर पर्नसक्ने जोखिम छ । साइबर आक्रमण, गोपनीयता हनन, डिपफेक र गलत सूचना फैलाउने सम्भावनाले नैतिक र सुरक्षात्मक चुनौती थप गहिरो बनेको छ ।

प्रतिवेदन अनुसार चीन, जापान, दक्षिण कोरिया र सिङ्गापुरजस्ता देशहरू एआई अवसर उपयोग गर्न सबल छन्, तर अफगानिस्तान, माल्दिभ्स र म्यान्माले आवश्यक सीप, पूर्वाधार र ऊर्जा अभावका कारण ठूलो चुनौती भोगिरहेका छन् । उन्नत अर्थतन्त्रभित्रका प्रदेशहरूमा पनि पहुँच असमानताले केही समुदाय पछाडि पर्न सक्ने जोखिम छ । एसिया–प्रशान्त क्षेत्रका झन्डै एक चौथाइ जनसङ्ख्यामा इन्टरनेट पहुँच नभएको तथ्यले समस्या अझ स्पष्ट बनाउँछ ।

युएनडिपीका एशिया–प्रशान्त प्रमुख अर्थशास्त्री फिलिप सेल्लेकेन्सका अनुसार यस्ता अन्तरहरू घटाइएन भने लाखौँ मानिस डिजिटल उपकरण, डिजिटल भुक्तानी, डिजिटल पहिचान तथा आधुनिक शिक्षा–सीपको पहुँचविहीन भई विश्व अर्थतन्त्रबाट झन् टाढा पर्न सक्नेछन् ।

अर्कोतर्फ, गलत सूचना, निगरानी, गोपनीयता उल्लङ्घन र पूर्वाग्रह सुदृढ गर्ने ‘ब्ल्याक बक्स’ एआई प्रणालीहरू पनि जोखिमको स्रोत भएको प्रतिवेदनले उल्लेख गर्दछ । त्यसैले एआईलाई निष्पक्ष, पारदर्शी र जवाफदेही तरिकाले उपयोग गर्न प्रभावकारी नियम र सुरक्षा संरचना अत्यावश्यक छन् ।

सेल्लेकेन्सले ‘प्रविधि–उन्माद होइन, सन्तुलित दृष्टिकोण’ आवश्यक रहेको बताउँदै सरकारहरूलाई डिजिटल पूर्वाधार, शिक्षा, सीप विकास, निष्पक्ष प्रतिस्पर्धा र सामाजिक सुरक्षा प्रणालीमा अधिक लगानी गर्न आग्रह गरेका छन् ।

प्रतिवेदनले अन्तिममा उल्लेख गरेको मूल लक्ष्य स्पष्ट छ—एआईको पहुँचलाई लोकतान्त्रिक बनाउने, ताकि हरेक राष्ट्र र समुदायले यसको लाभ उपयोग गर्न सकून् र जोखिममा रहेका मानिसहरू अझै पछाडि नपरोस् ।

धमाधम ठेक्का तोड्न थालेपछि सरकारसँग निर्माण व्यवसायी रुष्ट

काठमाडौं । सरकारले रुग्ण आयोजनाहरूको ठेक्का तोड्ने कार्यलाई तीब्रता दिएको छ।  सडक विभागले मात्रै अहिले विभिन्न डिभिजन, योजना कार्यालयमार्फत २ सय २९ वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ। यि ठेक्कामा निर्माण व्यवसायीहरूसँग समयमै काम नसकिनुको कारण पेश गर्न सार्वजनिक आह्वान गरिएको छ।

सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता श्यामबहादुर खड्काले सडक डिभिजन काठमाडौंअन्तर्गतका २५ सहित ३८ वटा ठेक्का तोडिएको जानकारी दिए। उनकाअनुसार अलपत्र ठेक्का किन नतोड्ने रु भन्ने शिर्षकमा सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित ठेकेदारलाई १५ दिनभित्र स्पष्टिकरण दिन आह्वान गरिने गरिएको छ।

कतिपय निर्माण व्यवसायीले सूचना निकालेर स्पष्टीकरण माग गरेपछि पनि काम शुरु गरेका छन्। त्यस्ता आयोजनाहरुको ठेक्का तोडिएको छैन, जवाफ नपठाएर सम्पर्कबिहीन बनेकाहरुको धमाधम ठेक्का तोडिएको छ।

अझै पनि रुग्ण ठेक्कामा केही तोड्ने प्रक्रियामा रहेका र केहीमा काम अघि बढेको खड्काको जानकारी दिए। खड्काले विगतमा राजनीति भएका कारण ठेक्का अघि बढ्न नसकेको भए त्यतिबेलै निर्माण व्यवसायीले कामको जिम्मेबारी नलिन सक्थे, ठेक्का तोड्ने अधिकार पनि उनीहरुमा पनि थियो। अनेक बहानामा आयोजनाहरु अड्काएकै कारण एक्सनमा उत्रनु परेको उनले बताए।

सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता श्यामबहादुर खड्काले भने–‘कर्मचारीको कारणले काम निर्माण सम्पन्न नगरेको भन्नेकुरा हो भने १५ दिने जुन स्पष्टीकरण छ, त्यसमा निर्माण व्यवसायीले स्पष्टीकरण दिनसक्छन्। कतिपय त्यो अवस्था पनि होला। चित्तबुझ्दो जवाफ भए थप समय दिएर ठेक्का अघि बढेका पनि छन्। चित्तबुझ्दो जवाफ निर्माण व्यवसायीले दिँदा दिँदै पनि ठेक्का तोडिएका छन् भने उनहरु न्यायका लागि अदालतमा जान पनि सक्नुहुन्छ।’

उनले थपे, ‘हामीले अहिले ठेक्का तोडेका भनिएका विशुद्ध निर्माण व्यवसायीको हो। निर्माण व्यवसायीहरुले आधारभूत शर्त पूरा नगरेकाहरुको तोडिएको हो। निर्माण सम्पन्न गर्नका लागि त्यसखालको रिर्सोस मोभिलाइज नभएका, वषौँदेखि ठेक्का अलपत्र परेका, पब्लिकले समयमै प्रयोग गर्न नपाएका आयोजनाको ठेक्का रद्ध गर्न प्रक्रिया अघि बढाएको हो। यदी सडक कार्यालयहरुबाट मर्कामा परेकाहरुको ठेक्का तोडिएको छ भने न्यायका लागि जान सक्नुहुनेछ। ३३ ओटा ठेक्का अहिले तोडिसकिएको छ। त्यसमा सडक पुलहरु पर्छन्। त्यो सहित ३८ ओटा ठेक्का तोड्ने भनेर विभागमा फाइल आइपुगेको छ। कुल २२९ ओटा किन नतोड्ने भनेर सूचना जारी गरिएको छ।’

निर्माण व्यवसायीहरु भने सरकारले व्यवस्थापन नगरि हचुवाकै भरमा ठेक्का तोडेको भन्दै आक्रोशित छन्। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले सरकारले ठेक्काहरु रुग्ण हुनुको कारण पत्ता लगाइ त्यसको निराकरण खोज्नुपर्ने बताउँछन्।

उनकाअनुसार अहिले जतिपनि ठेक्काहरु रुग्ण भएको छ। ८० प्रतिशत भन्दा बढि सरकारी कर्मचारीको कारणले भएको छ।

अध्यक्ष सिंहले भने–‘सबैभन्दा पहिल सरकारले ठेक्काहरु रुग्ण किन हुनुपुग्यो त्यसको कारण खोज्नुपर्छ। कारण पत्ता लगाइ त्यसको निराकरण खोज्नुपर्छ। अहिले जतिपनि ठेक्काहरु रुग्ण भएको छ। ८० प्रतिशत भन्दा बढि सरकारी कर्मचारीको कारणले भएको छ। सरकारी कर्मचारीको अकर्मण्यता र जवाफविहीनताका कारणले आयोजना रुग्ण बनेका छन्। कानूनी राज्यको हामीले अनुभूति गर्न पाएका छैनौँ।’

सिंहले थपे,‘यो राज्यमा कानुन निर्दोलाई मात्रै लाग्छ, सरकारी पक्षले १२/१५ वर्ष सम्म ठेक्का सम्पन्न नहुँदा उहाँहरु किन कारबाहीको दायरामा आउनुभएन। सार्वजनिक नियमावलीको पटकपटक संशोधन भयो र हरेक संशोधनमा ऐन, कानून, नियमलाई पालना नगर्ने अधिकारीहरु कानूनको दायरामा पर्छन् भन्ने उल्लेख छ। तर अहिलेसम्म ठेक्का अन्त्य नभएर रुग्ण भए व्यवस्थापन गर्ने नाममा अहिले अन्त्य गर्ने काम भएको छ, यो स्थीतिमा पुर्याउने अधिकारीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।’

सिंहकाअनुसार आयोजना रुग्ण बन्नुको मुख्य कारण कर्मचारी नै हुन्। उनीहरुमाथि कारबाही हुनुपर्छ। काम नगर्ने प्रोजेक्ट म्यानेजर, कार्यालय प्रमुखहरुलाई सरकारले कारबाही गर्नुपर्छ। वास्तविक रुपमै ठेक्काहरुलाई रुग्ण बनाउने काम गर्नेहरुलाई सरकारले कुनै हालतमा उन्मुक्ति दिन नहुने सिंहको भनाइ रहेको छ।

हिजोका दिनमा राजनीतिक नेतृत्वले दिएका निर्देशन पालना सरकारी अधिकारीहरुले गर्दा पनि आयोजनाहरु रुग्ण बनेको सिंहको बुझाइ रहेको छ। सार्वजनिक खरिद ऐन, नियमावलीमा भएका प्रावधानहरुलाई सरकारी कर्मचारीहरुले नै पालना नगरेकाले अहिले समस्या बिकराल बनेको सिंहले बताए।

केशरमहलमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौं । केशरमहलमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । साथै कारले ड्युटीमा रहेको ट्राफिक प्रहरीलाई ठक्कर दिएको छ,भने दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत ट्राफिक हवल्दार पशुराम ठाकुर र कार चालक काठमाडौं महानगरपालिका–१६ बस्ने ६६ वर्षीय सुरेश राज कालिका छन् ।

मृतक अन्दाजी ३० वर्षका पुरुष रहेको प्रहरीले जनाएको छ । उनको पहिचान खुलेको छै ।घाइतेमध्ये ट्राफिकको दुवै खुट्टा र छातीमा चोट लागेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका एसपी नरेशराज सुवेदीले बताए ।

मृतकलाई भने बोल्न नसक्ने अवस्थामा अस्पताल पुर्‍याइएको थियो । घाइते सबैलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो । ट्राफिकलाई भने त्यहाँबाट रेफर गरेर प्रहरी अस्पताल महाराजगञ्ज लगिएको छ ।

केशरमहल चोकमा दक्षिण गेटतफृबाट केशरमहलतर्फ जाँदै गरेको बा। प्र.०१–०३० च २३४८ नम्बरको नेटा इभी कार अनियन्त्रित भएर दुर्घटना भएको थियो । ट्राफिक र पैदलयात्रीलाई ठक्कर दिएर उक्त कार ड्रिम गार्डेनको पर्खालमा ठोक्किएको थियो ।

 

 

नेपाली कम्युनिष्ट पार्टीले मंसिर २० गते जनकपुरधाममा एकताको सन्देश सभा गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले मंसिर २० गते जनकपुरधाममा एकताको सन्देश सभा गर्ने भएको छ ।

१६ वटा विभिन्न राजनीतिक दलहरु मिलेर बनेको नेकपाले जनकपुरधामको तिरहुतिया गाछीमा मंसिर २० गते एकताको सन्देश सभा गर्न लागेको हो ।

सांगठनिक सुदृढिकरण तथा फागुन २१ गते हुने निर्वाचनको तयारी स्वरुप नेकपाले विभिन्न प्रदेशहरुमा पुगेर शिर्ष नेताहरुको उपस्थितिमा एकताको सन्देशसभा गर्न लागेको नेकपाका नेता महेन्द्रराय यादवले जानकारी दिए । उनले सन्देश सभामार्फत एकता प्रकृयालाई सुदृढ बनाउनुका साथै फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि तयार रहेको सन्देश दिने बताए।

८ वटै जिल्लामा सहजकर्ता खटाएर अमासभामा सहभागी हुनका लागि आम नागरिकलाई सहजीकरण गरिएको उनले बताए । सन्देश सभामा ४० हजार बढीको ८ वटै जिल्लाबाट सहभागिता रहने अनुमान गरिएको छ ।

सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल, सह–संयोजक माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, मातृका यादव लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

रुस र अमेरिकाद्वारा आणविक परीक्षण पुनः सुरु गर्ने चेतावनीले बढ्यो चिन्ता

भिएना ।  संयुक्त राज्य अमेरिका र रुसले दशकौँपछि पुनः आणविक परीक्षण सुरु गर्न सकिने सङ्केत दिएपछि अन्तर्राष्ट्रिय समुदाय तीव्र रूपमा चिन्तित बनेको छ । यस्तो चेतावनीले दशकौँदेखि कायम रहेको विश्वव्यापी परीक्षण–प्रतिबन्धको मानक नै खस्किन सक्ने र अप्रसार प्रयासमा गम्भीर असर पर्न सक्ने विज्ञहरूको आकलन छ ।

अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसलमा ‘अन्य देशहरूको परीक्षण कार्यक्रमका कारण’ पुनः परीक्षण प्रक्रिया तुरुन्तै सुरु गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएको उल्लेख गरेपछि तनाव बढेको हो । त्यसको जवाफमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सुरक्षा परिषद्लाई कुनै पनि देश—विशेषतः अमेरिकाले परीक्षण गरे रूस ‘पारस्परिक प्रतिक्रिया’ दिन बाध्य हुने चेतावनी दिएका छन् ।

– सन्धिबाट स्थापित मानकमाथि जोखिम –

सन् १९५० को दशकमा अमेरिका र सोभियत सङ्घले वातावरणमै शक्तिशाली परीक्षण गरेपछि पैदा भएको चिन्ताले सीमित आणविक परीक्षण–प्रतिबन्ध सन्धि ल्यायो, जसले भूमिगत परीक्षणलाई भने अनुमति दियो । त्यसपछि सबै प्रकारका परीक्षण रोक्ने उद्देश्यले सन् १९९६ मा व्यापक आणविक–परीक्षण–प्रतिबन्ध सन्धि (सिटिबिटी)संयुक्त राष्ट्रसङ्घीय महासभाबाट पारित भयो ।

हालसम्म १८७ देशले सन्धिमा हस्ताक्षर गरेका छन् भने १७८ ले अनुमोदन गरिसकेका छन् । तर सन्धि प्रभावकारी बनाउन आवश्यक ४४ मुलुकमध्ये चीन, इजिप्ट, इरान, इजरायल र अमेरिकाले अनुमोदन गरेका छैनन् । भारत, पाकिस्तान र उत्तर कोरियाले त हस्ताक्षर नै गरेका छैनन् । रूसले सन् २०२३ मा आफ्नो अनुमोदन फिर्ता लिएको थियो ।

सन्धिसँगै भिएनामा व्यापक आणविक–परीक्षण–प्रतिबन्ध सन्धि सङ्गठन(सिटिबिटिओ) को स्थापना भयो, जसले ३०७ अनुगमन स्टेशनमार्फत भूकम्पीय, हाइड्रो–आकौस्टिक, इन्फ्रासाउन्ड र रेडियोन्युक्लाइड प्रविधि प्रयोग गरी विश्वभर परीक्षण पत्ता लगाउँछ । सन् २०२५ को बजेट करिब १३ करोड ९० लाख डलर छ ।

– परीक्षण पुनः सुरु भए चीन र भारतलाई फाइदा –

आम्र्स कन्ट्रोल एसोसिएसनका कार्यकारी निर्देशक डेरिल किम्बलका अनुसार अमेरिकाले पूर्ण–स्तरको परीक्षण पुनः सुरु गरे कमजोर अनुभव भएका अन्य देशहरू—विशेषतः चीन र भारत—लाई साना तथा हल्का वारहेड डिजाइन परिष्कृत गर्न अवसर मिल्नेछ, जसले विश्व सुरक्षामा जोखिम बढाउँछ ।

सन १९९६ पछि भारत, पाकिस्तान र उत्तर कोरियाले मात्रै १० वटा परीक्षण गरेका छन्, तर अमेरिकाले अन्तिम परीक्षण सन् १९९२ मा गरेको थियो । कुल दुई हजार जति परीक्षणमध्ये अधिकांश सन् १९९६ अघि नै अमेरिका र सोभियत सङ्घले गरेका थिए ।

– वैज्ञानिक अनुगमनको भूमिका –

तनाव बढ्दै जाँदा सिटिबिटिओको भूमिका अझ महत्त्वपूर्ण भएको छ । कार्यकारी सचिव रोबर्ट फ्लोइडका अनुसार सङ्गठनको प्रमुख काम कहीँ पनि, कुनै पनि समयमा आणविक विस्फोट भयो कि भएन भनेर निश्चित जानकारी दिएर ‘विश्वलाई आत्मविश्वास दिलाउनु’ हो ।

छ वटा उत्तर कोरियाली परीक्षण सबै सङ्गठनको नेटवर्कले सफलतापूर्वक पत्ता लगाएको थियो ।

– सबै परीक्षण विस्फोटयुक्त हुँदैनन् –

ट्रम्पले कस्तो परीक्षणको सङ्केत गरेका थिए भन्ने अस्पष्ट छ । अमेरिकी ऊर्जामन्त्री क्रिस राइटका अनुसार सम्भावित नयाँ परीक्षणहरूमा ‘विस्फोट हुने सुपरक्रिटिकल’ प्रयोग समावेश नहुन सक्छन् । सिटिबिटस्ले शून्य–उपज मानकअनुसार कुनै पनि विस्फोटयुक्त परीक्षणलाई प्रतिबन्धित गर्छ ।

आत्म–निर्भर शृङ्खला प्रतिक्रिया नहुने सबक्रिटिकल परीक्षणहरू सिटिबिटी उल्लङ्घनमा पर्दैनन् र धेरै राष्ट्रले चलाउँदै आएका छन् ।

तर धातु कक्षाभित्र गरिने अत्यन्त कम–उपजका हाइड्रो–न्युक्लियर परीक्षण भने सङ्गठनको अनुगमन प्रणालीबाट पत्ता नलाग्न सक्ने किम्बलको भनाइ छ, जसले ‘प्रमाणीकरण अन्तर’ सिर्जना गर्छ । प्रणाली मूलतः एक किलोटन विस्फोट पत्ता लगाउन डिजाइन गरिएको भए पनि हाल ५०० टन टिएनटी बराबरको विस्फोटसमेत पहिचान गर्न सक्षम भएको फ्लोइडको दाबी छ ।

तुलनार्थ, हिरोसिमामा खसालिएको बमको शक्ति लगभग १५ किलोटन थियो ।

मधेस सरकारबारे सर्वोच्चको फैसलामा ओलीको प्रश्न : कुन धाराको आधारमा यस्तो आदेश ?

काठमाडौं । मधेश प्रदेशमा उत्पन्न राजनीतिक जटिलतामाथि सर्वोच्च अदालतले मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसप्रति तीव्र असन्तुष्टि जनाएका छन् । पार्टीको वन तथा वातावरण विभागद्वारा च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले अदालतको आदेश संविधानसँग मेल नखाने दाबी गर्दै खुला प्रश्न गरे, ‘संविधानले ३० दिनको म्याद दिन्छ, सर्वोच्चले २४ घण्टाको ? कुन धाराको आधारमा यस्तो आदेश आयो ?’

ओलीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन पाउने संवैधानिक समय पूरा हुन चार दिन बाँकी हुँदाहुँदै अदालतले अत्यन्त न्यून समयसीमा तोक्नु आश्चर्यजनक र संविधानविपरीत छ । उनले ‘आवश्यकताको सिद्धान्त’ भन्दै मनपरी समयसीमा तोक्ने अभ्यासले न्यायिक मर्यादामै प्रश्न उठेको टिप्पणी गरे । उनले प्रश्न गरे, ‘चार दिनपछि एक महिना पुग्दैछ, तर सर्वोच्च २४ घण्टाभित्र विश्वासको मत लिनू भन्छ । संविधानभन्दा माथि कसरी आदेश जान्छ?’

यससँगै ओलीले पछिल्ला केही निर्णयहरूमा अदालतले कानूनभन्दा व्यक्तित्व, राजनीतिक र संगठनगत झुकावका आधारमा फैसला गर्ने प्रवृत्ति बढेको आरोप पनि लगाए । उनका अनुसार यस्तो अभ्यासले न्यायिक निष्पक्षतामा जनआस्था कमजोर हुने खतरा छ । तर विवादका बीच उनले अदालतप्रति आफ्नो सम्मान कायम रहने र जारी आदेश कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘म अदालतलाई पूरा सम्मान गर्छु । तर परिस्थिति, मान्छे वा अनुहार हेरेर निर्णय गर्ने प्रवृत्ति बस्नु हुँदैन । संविधान र कानूनी मर्यादा अनुसार सबैले चल्नु पर्छ ।’ मधेश प्रदेश सरकारको टिकाउ र बहुमतसम्बन्धी विवादले राजनीतिकतरह ठूलो तानातान चलिरहेका बेला सर्वोच्चको आदेश र त्यसप्रति प्रमुख राजनीतिक नेताको असन्तुष्टिले विषयलाई थप चर्काएको छ ।

मधेश सरकार विवादमा सर्वोच्चको आदेशबारे ओलीको भनाइ जस्ताको तस्तै :

म सम्मानित सर्वोच्च अदालतको हिजोको एउटा फैसला सम्झन चाहन्छु । संविधानको धारा १६८ को प्रदेशस्तरमा भन्ने हो भने धारा २ को होस् वा ३ को होस् वा ५ को होस् । ती सरकारहरूमा मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ भनेर भनेको छ । हिजो सम्मानित सर्वोच्च अदालतबाट एक महिना पुग्न ४ दिन बाँकी होला । संविधानले ३० दिनभित्र विश्वासको मत लिन्छ भन्छ । सम्मानित सर्वोच्च अदालतबाट २४ घण्टाभित्र लेऊ भन्छ । म सुन्दा आश्चर्यचकित भएँ । संविधानले ३० दिनको म्याद दिन्छ । ४ दिनपछि ३० दिन पुग्दैछ ।

तीन दिन वर तान्नका लागि संविधानविपरीत २४ घण्टाको परमादेश कुन धाराको आधारमा ? आवश्यकताको सिद्धान्त भनेको त्यही हो कि ? म अदालतलाई पूरा सम्मान गर्छु । अदालतको निर्णय हामी कार्यान्वयन पनि गर्छौं । तर, मेरो आग्रह के हो भने अदालतबाट पनि खुद आफ्नै, संविधानको मर्यादा कायम हुनु वान्छनिय हुन्छ । परिस्थिति, मान्छे र अनुहार हेरेर कुनै हिसाबले फैसला होइन, संविधान कानुन र न्याय हेरेर फैसला हुनुपर्छ । संविधान विपरीतको फैसला, सधैँ नेकपा एमालेको भागमा पर्छ यस्तो फैसला चाहीँ । यो मैले कुनै अदालतप्रति मानमर्यादामा प्रभाव पार्न खोजेको होइन, प्रसंगबस ल्याएको मात्र हो ।

 

 

कांग्रेसले उम्मेदवार छनोटमा कडाइ गर्दै, तोक्यो १० योग्यता र मापदण्ड

काठमाडौं । आसन्न प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले उम्मेदवार छनोट प्रक्रियामा कडाइ गरेको छ । पार्टीले मातहतका सबै संरचनालाई परिपत्र जारी गर्दै सामाजिक विसंगति वा आपराधिक स्वरूपका दोषसिद्ध केसमा परेका व्यक्तिलाई कुनै परिस्थितिमा पनि उम्मेदवार सिफारिस नगर्न निर्देशन दिएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षर रहेको परिपत्रमा जातीय विभेद, घरेलु हिंसा, बालश्रम लगायत सामाजिक कुसंस्कार वा वेथितिसँग सम्बन्धित कुनै पनि मुद्दामा दोषी ठहर भइसकेका व्यक्तिहरू कांग्रेसका तर्फबाट उम्मेदवार बन्न अयोग्य हुने प्रष्ट उल्लेख गरिएको छ । पार्टीले यसलाई उम्मेदवार हुनुका १० आवश्यक योग्यता मध्ये एक प्रमुख मापदण्डका रूपमा प्रस्तुत गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गतेको बैठकपछि जारी गरिएको निर्देशनअनुसार प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्रीय तथा प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरूलाई प्रत्यक्ष तथा समानुपातिक दुवै प्रकारका प्रतिनिधि सभा सदस्यका साथै राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको नाम तोकिएको अवधिभित्र अनिवार्य सिफारिस गर्न भनिएको हो । निर्वाचन आयोगले कार्यक्रम सार्वजनिक गरिसकेकाले प्रक्रिया तीव्र पार्न पार्टीले संगठनलाई आदेश दिएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश कार्यसमितिलाई संविधानको धारा ८६ को उपधारा २ (क) अनुसार जिल्लाबाट संभावित नामावली संकलन गर्न र प्रत्येक सिटका लागि तीन–तीन जनाको नाम सहमति या बहुमतका आधारमा केन्द्रमा पठाउन निर्देशन गरिएको छ । यस्तै, फागुन २१ गते निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुबै तर्फको सिफारिस प्रक्रिया पनि समान कडाइका साथ पूरा गर्न भनिएको छ ।

परिपत्रमा प्रदेश समितिहरूले ०८२ मंसिर मसान्तभित्र राष्ट्रिय सभाका लागि तोकिएको संख्याअनुसार तीन–तीन नामका प्रस्ताव केन्द्रमा पठाइसक्नुपर्ने उल्लेख छ। पार्टीले उम्मेदवार छनोटलाई पारदर्शी, सक्षम र नैतिक प्रतिबद्धता भएको व्यक्तित्वद्वारा भरिनुपर्ने बताउँदै आगामी चुनावका लागि आन्तरिक तयारीलाई तीव्रता दिएको छ ।

यस्ता छन् १० शर्त तथा योग्यता
१) नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३० बमोजिमको योग्यता पुगेको व्यक्ति हुनुपर्ने ।
२) जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्ति नेपाली कांग्रेसको उम्मेदवार बन्न अयोग्य हुनेछन्।
३) २०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्तिको नाम पार्टी विधानको धारा ३३ (२) बमोजिम आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फको उम्मेदवार हुन पाउने छैनन् ।
४) प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिकको बन्दसूचीमा समावेश भएका व्यक्तिहरूको नाम प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि उम्मेदवार सिफारिस गर्न पाइने छैन ।
५) तोकिएको उम्मेदवारको संख्याभन्दा बढी नाम सिफारिस गर्न पाइने छैन ।
६) प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्य पद मध्ये कुनै एक व्यक्ति एक पदका लागि मात्र सिफारिश गर्नु पर्नेछ ।
७) प्रतिनिधि सभा सदस्य पदको उम्मेवारको लागि तेपाली नागरिकताको प्रमाणपत्र र मतदाता परिचय पत्रको प्रतिलिपी पेस गर्नु पर्नेछ ।
८) प्रतिनिधि सभा समानुपातिक तर्फका सिफारिस भएका उम्मेदवारहरूको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, मतदाता परिचय पत्रको प्रतिलिपी, मतदाता नामावली नाम समावेश भएको निस्सा, उम्मेदवार हुनका लागि पार्टी केन्द्रबाट तोकिएको प्रतिवद्धता पत्र र निर्वाचन आयोगले तोकेको स्वघोषणपत्र, उम्मेदवारको वैयक्तिक विवरण र सो घोषणा गरिने सम्पत्ति विवरण फारममा हस्ताक्षर गरेको हुनु पर्नेछ ।
९) २०७९ मा सम्पन्त स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न पाइने छैन ।
१०) पार्टी विधानको धारा ६९ बमोजिम पार्टीका क्रियाशील सदस्य, विभिन्न तह र जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरूले तोकिए बमोजिमको सहयोग रकम (लेवी) तोकिए बमोजिमको पार्टी निकायमा अनिवार्य बुझाउनु पर्नेछ । सहयोग रकम (लेवी) नबुझाउने त्यस्ता कुनै पनि व्यक्ति कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन पाउने छैनन् ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका २७ निर्णय (सूचीसहित)

काठमाडौँ । सरकारले कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गरेको छ । सोमवार बसेको मन्त्रीपरिषद्का बैठकले यो निर्णय गरेको हो । मंगलवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले राष्ट्रिय आर्थिक गणना सञ्चालनसम्बन्धी प्रशासनिक तथा आर्थिक मापदण्ड, २०८२ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।

उनकाअनुसार सरकारले २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको सार्वजनिकः सम्पती, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन गर्न र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिको कार्यावधि ३० दिन थप गर्ने निर्णय भएको छ । त्यस्तै भूपाल बराललाई कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्ति गरेको छ । नेपाली सेनाका तीन जना सहायक रथीको पदावधि थप गर्ने र एक जना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।

हेर्नुस् यस्ता छन् सरकारका निर्णयहरु

कृष्ण सागरमा रूसी ट्याङ्करमाथि फेरि आक्रमण

अङ्कारा । रुसबाट जर्जिया लैजाँदै गरेको सूर्यमुखी तेल बोकिरहेको मिडभोल्गा–२ नामक ट्याङ्करमाथि कृष्ण सागरमा आक्रमण भएको टर्कीको समुद्री प्राधिकरणले मङ्गलबार पुष्टि गरेको छ । केही दिनअघि मात्र युक्रेनी नौसेना ड्रोनले दुई रूसी ‘छाया फ्लीट’(स्याडो फ्लीट)ट्याङ्करलाई लक्ष्य बनाएको पृष्ठभूमिमा यो पछिल्लो घटना भएको हो ।

टर्कीको समुद्री मामिला महानिर्देशालयका अनुसार ट्याङ्कर टर्कीको तटबाट करिब १३० किलोमिटर टाढा आक्रमणमा परे पनि १३ जना चालक दलका सबै सदस्य सुरक्षित रहेका छन् । जहाजले कुनै प्रकारको आपतकालीन सहायता मागेको छैन र यो सिनोप बन्दरगाहतर्फ आफ्नो मार्गमा रहेको जनाइएको छ । प्राधिकरणले एक्समा जारी गरेको विज्ञप्तिमा घटनाको पुष्टि गर्दै समुद्री सुरक्षाबारे निरन्तर निगरानी गरिने जनाएको छ ।

यसअघि सोमबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले रूसी जहाज काइरोस र विराटमा भएको युक्रेनी ड्रोन आक्रमणको कडा आलोचना गर्दै यस्तो कार्यले क्षेत्रीय द्वन्द्व ‘चिन्ताजनक रूपमा तीव्र’ भएको चेतावनी दिने भनी टिप्पणी गरेको थियो । उनले भनेका छन्, “हाम्रा विशेष समुद्री क्षेत्रमा नेभिगेसन सुरक्षा, मानवजीवन र वातावरणलाई जोखिममा पार्ने यस्ता आक्रमण हामीले कदापि स्वीकार गर्न सक्दैनौँ । हामीले सबै पक्षलाई आवश्यक चेतावनीहरू दिइरहेका छौँ ।”

काइरोस र विराट माथिका आक्रमणहरू टर्कीको विशेष आर्थिक क्षेत्रभित्रै भएका थिए र दुवै जहाजका चालक दल सुरक्षित रहेको बताइएको छ । ओपनसेन्क्सन नामक प्रतिबन्ध निगरानी डाटाबेसअनुसार यी जहाजहरू सन् २०२२ मा युक्रेनमाथि आक्रमणपछि रुसमाथि लगाइएका प्रतिबन्ध चर्किँदै जाँदा तीबाट बच्न प्रयोग गरिने ‘छाया फ्लीट’ को हिस्सा मानिन्छन् ।

युक्रेनले युद्धकालमा रूसी लक्ष्यहरूविरुद्ध विशेष रूपमा विस्फोटक पदार्थले भरिएका समुद्री ड्रोन प्रयोग गर्दै धेरै सफल नौसैनिक आक्रमण गरिसकेको छ । यद्यपि ती प्रायः उत्तरी कृष्ण सागरकै क्षेत्रमा सीमित रहने गरेका थिए । पछिल्लो आक्रमणले द्वन्द्व अब दक्षिणतर्फ फैलिन सक्ने सङ्केत दिएको विश्लेषकहरूको आकलन छ ।

कर्णालीविरुद्ध पोखराले ब्याटिङ गर्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्दै छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि पोखराले पहिला ब्याटिङ गर्ने भएको छ ।

दुवै टोलीका लागि यो खेल ‘प्लेअफ’ मा पुग्न महत्वपूर्ण छ । चार खेलमा एक खेल मात्रै जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा अघि बढ्न सहज हुनेछ । कर्णालीका लागि पनि प्लेअफमा पुग्न यो खेल जित्नैपर्ने हुन्छ । यसअघि आजै भएको पहिलो खेलमा जनकपुरले चितवनलाई ६ विकेटले हराएको थियो । कर्णालीले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ। दिपक डुम्रे, युवराज खत्री र विलियम वसिस्टोलाई बेन्चमा राखेको छ । पोखराले आजको खेलमा पाँच खेलाडी परिवर्तन गरेको छ । अघिल्लो खेलमा रहेका दिनेश खरेल, अविशेक तिवारी, सुमित बर्मा, जिम्मी निसम र म्याट टेलरलाई बाहिर राखेको छ ।

पोखरा एभेन्जर्सको टोली : कुशल मल्ल, किरण ठगुन्ना, सागर ढकाल, आकाश चन्द, विपिन खत्री, तृतराज दास, सन्दीप केसी, आडम रोसिङटन, जेसन रोय, ऋषी धवन र धनन्जय लक्सन।

कर्णाली याक्सको टोली : सोमपाल कामी, दीपेन्द्र रावत, पवन सर्राफ, नन्दन यादव, विपिन शर्मा, युनिस ठकुरी, गुल्सन झा, मार्क वाट, नजिबुल्लाह जड्रान, प्रियांक पञ्चाल र जय किसन कोल्सावाला ।

 

 

इरानको सीमामा सुरक्षाकर्मीले गोली चलाउदा १० जना अफगानको मृत्यु

काबुल(अपगानिस्तान) । पश्चिमी अफगानिस्तानको फराह प्रान्तको इरानी सीमामा सुरक्षाकर्मीले अफगान नागरिक माथि गोली चलाउदा १० जना अफगान नागरिकहरूको मृत्यु भएको प्रान्तीय प्रहरी कार्यालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रान्तीय प्रहरी प्रवक्ता मावलवी मोहम्मद नासिम बद्रीले विज्ञप्ति मार्फत फराह प्रान्तका अफगान बासिन्दाहरू इरानमा प्रवेश गर्ने प्रयास गरिरहेको अवस्थामा इरानी सीमाका खटिएका सुरक्षाकर्मीहरुले गोली चलाए पछि उनीहरूको घटना स्थलमै मृत्यु भएको खबताएका छन् ।

इरानले यस बर्ष मात्र हजारौँ अफगानहरूलाई निष्कासन गर्दै कानुन बमोजिम कागजातहरू बिना देशमा बसोबास गर्ने विदेशी नागरिकहरूलाई देश छोड्न आग्रह गरेको छ । यसको बाबजुद, पनि धेरै अफगानहरू बेरोजगारी र गरिबीबाट बच्न दैनिक आफ्नो मातृ भूमि छोडेर इरान लगायत अन्य देशमा जाने गरेको जनाइएको छ ।

जलवायु परिवर्तन श्रोत पुस्तिका विमोचन र कोप-३० को समीक्षा (तस्बिरहरु)

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले वन, वातावरण तथा जलवायु परिवर्तन श्रोत पुस्तिका विमोचन गरेका छन् ।

एमालेको केन्द्रीय वन तथा वातावरण विभागले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा पुस्तक विमोचन गरिएको हो । कार्यक्रममा कोप-३० को समिक्षा समेत गरिएको थियो ।

वाइडबडीको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं । वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतले सुनाएको निर्णयलाई त्रुटिपूर्ण ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । आयोगले विशेष अदालतले सम्पूर्ण अभियोग, बिगो निर्धारण र प्रतिवादीहरूको भूमिकाबारे समुचितरूपमा नबुझी आंशिक मात्र दोषी तोकिएको भन्दै पुनरावलोकन मागसहित पुनरावेदन दर्ता गरेको हो ।

आयोगले जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध करिब १ अर्ब ४७ करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगको दाबी अनुसार नेपाल वायुसेवा निगमका पदाधिकारीले आपूर्तिकर्ता कम्पनीसँग मिलेमतो गरी करिब ७४ करोड ५८ लाख रुपैयाँ अनियमित भुक्तानी गरेका थिए । त्यसैगरी, खरिद गरिएको विमानको तौल २४२ टनबाट २३० टनमा घटाइए पनि मूल्य समानुपातिक रूपमा नघटाई अतिरिक्त करिब ७२ करोड रुपैयाँ भुक्तानी गरिएको आरोप अख्तियारले लगाएको छ । यी दुवै शीर्षकका कारण निगमलाई १ अर्ब ४७ करोड १० लाखभन्दा बढीको प्रत्यक्ष हानी पुगेको आयोगको निष्कर्ष छ ।

विशेष अदालतले २०८१ मंसिर २० गते सुनाएको फैसलामा विमान खरिदलाई ‘राष्ट्रिय आवश्यकतासँग सम्बन्धित विषय’ उल्लेख गर्दै नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, पर्यटन सचिव शंकरप्रसाद अधिकारी, सञ्चालक समिति सदस्यहरू शिशिरकुमार ढुंगाना र बुद्धिसागर लामिछाने तथा आपूर्तिकर्ता कम्पनीका प्रतिनिधिहरूलाई दोषी ठहर गरेको थियो । तर तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित अधिकांश सञ्चालक समितिका पदाधिकारी तथा १४ जना निगम कर्मचारीलाई संलग्नता नदेखिएको, बदनियत प्रमाणित नभएको तथा प्रारम्भिक चरणको भूमिकामात्र भएको आधारमा सफाइ दिएको थियो ।

यिनै सफाइ र आंशिक दोषी ठहरविरुद्ध असहमति जनाउँदै अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो। आयोगका अनुसार अदालतले मागअनुसार दफा ९ सम्बन्धी कसूरबारे प्रस्ट रूपमा नबोलेको, प्रतिवादीहरूको भूमिकालाई पूर्ण मूल्यांकन नगरेको र बिगो निर्धारणमा त्रुटि भएको भन्दै फैसला उल्ट्याई सफाइ पाएकाहरूलाई समेत कारबाही योग्य ठहर गर्न माग गर्नु परेको हो । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार विशेष अदालतको फैसला मुद्दाको मूल सन्दर्भ र अभियोगसम्बन्धी मागदाबीलाई समग्र रूपमा सम्बोधन गर्न असफल भएकाले सर्वोच्च अदालतमा पुनरावलोकन मागिएको हो ।

 

 

कला तथा सांस्कृतिक महोत्सव बुधबारदेखि

काठमाडौँ ।  नेपाली कला र संस्कृतिको परिचायक हस्तकलाका सामग्रीको प्रचारप्रसार एवं प्रवर्द्धन गर्ने उद्देश्यले बुधबारदेखि ‘कला तथा सांस्कृतिक महोत्सव–२०८२’ हुने भएको छ ।

कला नगरी ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा हुने सो महोत्सवको बाग्मती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल हस्तकला महासङ्घले जनाएको छ । प्रदर्शनीमा करिब २१ वटा ‘क्यानोपे’ र १० वटा टेबल स्टल रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवमा हस्तकलाका सामग्रीका अतिरिक्त बुद्ध धर्मअनुसार दश कर्ममा प्रयोग हुने गरगहना, जातीय पोसाक, शास्त्रीय सङ्गीत, विभिन्न विधाका चर्या नृत्य, अष्टमात्रिका र कार्तिक नाच, लोकनृत्यलगायत धाः बाजा, दमोखिं बाजा, नेपाल भाषाका लोकगीको प्रस्तुति रहने महासङ्घका अध्यक्ष रवीन्द्र शाक्यले जानकारी दिएका छन् ।

प्रदर्शनी बिहान १०ः०० देखि साँझ ७ः०० बजेसम्म चल्ने महासङ्घले जनाएको छ ।

मन्त्री घिसिङले गरे निर्माणाधीन बाल अस्पताल निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा निर्माणाधीन विशिष्टीकृत बाल अस्पतालको निरीक्षण गरेका छन् । मन्त्री घिसिङले मंगलबार काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले बूढानीलकण्ठ नगरपालिका–७ हेपाली हाइटमा निर्माण गरिरहेको दुई सय शैयाको अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिस्तरको बाल अस्पतालको निरीक्षण गरेका हुन् ।

मन्त्री घिसिङले सोमबार कियोजबाट झापाको दमकमा सञ्चालित बाल अस्पतालको पनि निरीक्षण गरेका थिए । अस्पतालको मुख्य भवन निर्माण निर्माण अन्तिम चरणमा छ । मन्त्री घिसिङले अस्पतालको निर्माणाधीन भवन तथा विभिन्न संरचना र निर्माण प्रगतिका बारेमा कियोचका अध्यक्ष डा. कोइरालासँग छलफल गर्नुकासाथै स्थलगत निरीक्षण गरेका थिए । उक्त अस्पताल निर्माणका लागि सरकारले करिब ४१ रोपनी जग्गा भाडा (लिज) मा उपलब्ध गराएको थियो । संघीय सरकारले भवन बनाउ र उपकरण खरिदका लागि करिब ११ करोड र बागमती प्रदेश सरकारले १ करोड रुपैयाँ अनुदान रकम उपलब्ध गराउने निर्णय गरेका छन् ।

डा. काइरालाको अगुवाइमा अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको बाल अस्पताल बनाउन लागिएको त्यसको प्रशंसा गर्दै मन्त्री घिसिङले अस्पताल निर्माणलाई सरकारकातर्फबाट आवश्यक सहयोग रहने बताए । उनले भने, ‘दमकमा सञ्चालित बाल अस्पतालका निरीक्षण गर्यौं, उक्त अस्पतालबाट त्यस क्षेत्रमा ठूलो सेवा पुगेको रहेछ, काम गर्न सक्नेलाई देशको समग्र क्षेत्रको विकासका लागि थप जिम्मेवारी दिएर अगाडि बढाउन जरुरी छ ।’ उनले हस्पताल निर्माणमा सहयोग गर्ने सबै दातालाई धन्यवाद दिए ।

सबै नेपालीको पहुँच हुनसक्ने गरी अत्याधुनिक उपकरणसहितको सुविधा सम्पन्न बाल अस्पतालको निर्माण गरिएको उल्लेख गर्दै डा. कोइरालाले अस्पताल गैरनाफामूलक, समाजसेवामा विशेष केन्द्रित हुने र कमजोर वर्गले पनि गुणस्तरीय उपचार पाउने बताए । उनले बालमृत्युदर उच्च रहेको कर्णाली प्रदेशमा अस्पताल निर्माणका लागि पहल भइरहेको उल्लेख गरे । डा. कोइरालाले सात प्रदेशमा बाल अस्पताल निर्माण गर्ने घोषणा गरेका थिए ।

रुघाखोकीका बिरामी बढे

चितवन । भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० प्रतिशत मौसमी रुघाखोकीका रहेका छन् । रुघाखोकीका बिरामी अहिलले जाडो बढेसँगै बढेका हुन् ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलका अनुसार यहाँ उपचारमा आउने बिरामीमध्ये २० प्रतिशत मौसमी रुघाखोकीका बिरामी हुन् । उनले भने, “सामान्य समयभन्दा अहिले यस्ता बिरामीको चाप बढेको छ ।”

अहिले अस्पतालमा दैनिक एक हजार ५०० देखि दुई हजार हाराहारी बिरामी आउने गरेका छन् । आएका बिरामीमध्ये ३०० भन्दा बढी मौसमी रुघाखोकी र ज्वरोका रहेका उनले जानकारी दिएका छन् ।

अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारीका अनुसार लगातार चार दिनसम्म ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने, जीउ दुख्ने, खाना नरुच्ने तथा सुक्खा खोकी लाग्ने जस्ता समस्या लिएर आउने बिरामीको सङ्ख्या बढेको हो । उनले भने, “सिजनल फ्लुका बिरामी बढेका छन् ।” यसलाई रोक्न चिसो कुरा नखाने, चिसोमा बाहिर नहिँड्ने, हिँड्नै परे बाक्ला र लामा लुगा गाएर हिँड्ने गर्नुपर्ने उनले बताएका छन् ।

अस्पतालमा आएका बिरामीमध्ये केही स्क्रबटाइफसका रहेको डा अधिकारीले बताएका छन् । दीर्घरोगी र ज्येष्ठ नागरिकमा बढी मौसमी रोगको समस्या देखिएको उनले बताएका छन् । अहिले उपचारमा आएका बालबालिकामा समेत मौसमी रोगको समस्या देखिएको बाल रोग विशेषज्ञ डा खेम पौडेलले बताएका छन् । बालबालिकामा लगातार ज्वरो आउने, सिँगान बगिरहने, खाना नरुच्ने जस्ता समस्या देखिने गरेको उनले बताएका छन् ।

बालबालिकालाई चिसो खान नदिने, बिहान र साँझ बाहिर हिँड्डुल गर्न नदिने, लामो र न्यानो कपडा लगाइदिने, झोलिलो र ताता कुरा खान दिने जस्ता कार्यले मौसमी रोगबाट बचाउन सकिने उनले बताएका छन् । अहिले उपचारमा आएका बालबालिकामध्ये ५० प्रतिशतमा मौसमी रुघाखोकी र ज्वरोको समस्या रहेको उनले जानकारी दिएका छन् । बालबालिकालाई चिसोबाट बचाउनसमेत उनले आग्रह गरेका छन् ।

यस अस्पतालमा चितवनसहित विभिन्न जिल्लाका बिरामीको उपचार हुँदै आएको छ । सङ्घीय अस्पतालका रुपमा रहेको यस अस्पतालमा विशेषज्ञ सेवासमेत हुने भएकाले उपचारका लागि केन्द्र बन्दै आएको छ ।

प्रतिनिधि सभा नभए पनि संसद मर्नु हुँदैन : संसद सचिव पाण्डे

काठमाडौं । प्रतिनिधि सभा विघटन भई संघीय संसदको एक मात्र जीवित संरचना–राष्ट्रिय सभा मात्र बचेको संवैधानिक अनिश्चितताको घडीमा, राष्ट्रिय सभा बैठक बोलाउनुको के अर्थ छ भन्ने बहस तीव्र बन्दै गएको छ । तर संघीय संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डे भने यसलाई अनावश्यक विवाद होइन, वर्तमान राजनीतिक व्यवस्थालाई चालु राख्ने निर्णायक उपायका रूपमा प्रस्तुत गरेका छन् ।

भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको नागरिक सरकारले पदभार ग्रहण गरेसँगै उनको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए । प्रतिनिधि सभा विघटनसँगै संसद भवन समेत आगलागीबाट क्षतिग्रस्त हुँदा राष्ट्रिय सभाको बैठक व्यवस्थापन पनि चुनौती बनेको छ । पुरानो भवन र वैकल्पिक हल तयार पार्ने काम भइरहेको अवस्था छ । यहीबीच, प्रतिनिधि सभा नभएको स्थितिमा राष्ट्रिय सभा बैठक बोलाउनुको औचित्य छैन भन्ने धारणा पनि सार्वजनिक हुँदै आएको छ । कारण स्पष्ट छ–राष्ट्रिय सभा एक्लै कानून बनाउन सक्दैन । तर यही तर्कलाई सचिव पाण्डेले स्पष्ट रूपमा अस्वीकार गर्दै राष्ट्रिय सभा अहिले चलाउनै पर्ने संस्थागत र संवैधानिक आवश्यकताहरू एक–एक गरी प्रस्तुत गरेका छन् ।

‘प्रतिनिधि सभा नभए पनि संसद मर्नु हुँदैन’
सचिव पाण्डेको मूल तर्क यही हो—संसद केवल विधेयक पास गर्ने ठाउँ मात्र होइन, सरकारलाई जवाफदेही बनाउने, जनताका समस्या उठाउने, प्रश्नोत्तर चलाउने, निगरानी गर्ने, राजनीतिक संवादका ढोका खोलिराख्ने आधारस्तम्भ हो । उनको भनाइमा, प्रतिनिधि सभा नभएको संवैधानिक संक्रमणमा राष्ट्रिय सभा एक मात्र सक्रिय संसद भएकाले ‘यसलाई चलायमान राख्नु लोकतान्त्रिक अभ्यासलाई जोगाउने कडी’ हो । उनले भने, ‘अहिलेको सरकार जनस्तरबाट बनेको सरकार हो । यसलाई संसदप्रति उत्तरदायी बनाउने प्रमुख संयन्त्र राष्ट्रिय सभा नै हो। बैठक बोलाउन ढिलो भइसकेको अवस्था छ ।’
सचिव पाण्डेले राष्ट्रिय सभाको प्रभावकारी भूमिकाबारे विस्तृत रूपमा वकालत गरेका छन् ।
उनका अनुसार—
–सरकारले गरेका कामका विषयमा बहस गर्न ।
–मन्त्रीहरूलाई जवाफदेही बनाइराख्न ।
–जनताको आवाज संसदसम्म पुर्‍याउन ।

–राजनीतिक विवादलाई संस्थागत छलफलमा लैजान ।
–सुशासनका मापदण्ड कायम राख्न ।
–राष्ट्रिय सभा सक्रिय हुनु अत्यावश्यक छ ।
‘‘विधेयकका लागि प्रतिनिधि सभा चाहिन सक्छ, तर संसदका धेरै–जसो कामहरु राष्ट्रिय सभाले एक्लै गर्न सक्छ’,’ उनले स्पष्ट पारे । सरकारले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन र माघ ११ गते राष्ट्रिय सभा एक तिहाइ सदस्यको निर्वाचन घोषणा गरिसकेको छ । निर्वाचनको तयारी र सुशासनका दुवै जिम्मेवारी सरकारका काँधमा छन् । यस्तो बेला राष्ट्रिय सभाको सक्रियता झन् महत्वपूर्ण हुने पाण्डेको तर्क छ ।

उनको भनाइ अनुसार समितिमा रहेको विधेयक र अन्य प्रतिवेदन अहिले नै तयारी चरणमा पुर्‍याउन सकिन्छ, प्रतिनिधि सभा बनेपछि विधेयक पारित गर्ने काम सहज र छिटो हुन्छ, समय बचत हुन्छ, प्रक्रिया लम्बिंदैन । उनले यसलाई ‘‘आधा काम अहिले, आधा काम नयाँ सदन आएपछि’ पूरा गर्ने प्रभावकारी उपायका रूपमा देखाए । पाण्डेले चेतावनीस्वरूप भने, ‘यदि संसद निष्क्रिय बस्यो भने सरकारलाई नियन्त्रण गर्ने औपचारिक संयन्त्र हराउँछ । त्यसपछि कार्यपालिका मनलाग्दी ढंगले चल्न सक्छ ।’ उनका अनुसार तलब–भत्ता लिएर सांसदहरूलाई निष्क्रिय राख्नुको औचित्य पनि हराउने भएकाले राष्ट्रिय सभालाई पूर्णतः प्रयोग गर्नु अपरिहार्य छ ।

अबको सरकारका दुई प्रमुख म्यान्डेट सुशासन र निर्वाचन सम्पन्न गर्नु हुन् । यस दुवै कार्यमा राष्ट्रिय सभा राजनीतिक समन्वय, दल–दलबीच संवाद र जनपरिचालनका विषयमा ‘केन्द्रीय संस्थागत प्लेटफर्म’ को भूमिकामा रहन्छ । उनले भने, ‘सरकार र दलहरूबीच देखिएको दूरी पुर्‍याउने पुल यही सभा हो । चुनावको वातावरण बनाउने, जनतालाई आह्वान गर्ने, संस्थाहरू सक्रिय बनाउने काम संसदमार्फत सहज हुन्छ ।’ राष्ट्रिय सभाका चार समितिहरू-विशेष गरी विधायन समिति- महत्वपूर्ण विधेयक तथा निगरानीका मुद्दामा काम गरिरहेको सचिव पाण्डेले जानकारी दिए । मन्त्रीहरूको सक्रिय सहभागिता भएकाले समितिको काम पनि प्रभावकारी बन्दै गएको बताइएको छ ।

तर बैठक नडाकिएको कारण तयार भएका प्रतिवेदन संसदमा पेश हुन नसकेको, छलफल–निर्णय रोकिएको, संस्थागत प्रक्रियाहरू आधा बाटोमै रोकिएको बताइएको छ । उनले भने, ‘संसद चलायो भने नै समितिको काम परिणाममा रूपान्तरण हुन्छ, संसद निष्क्रिय हुँदा सिङ्गो शासन प्रणाली जोखिममा पर्छ ।’

सरकारी एप प्रीलोड आदेशले भारतमा गोपनीयता चिन्ता बढायो

नयाँदिल्ली ।   भारत सरकारले सबै स्मार्टफोन निर्माताहरूलाई सरकारद्वारा सञ्चालन गरिएको साइबर सुरक्षा एप ‘सञ्चार साथी’ अनिवार्य रूपमा पूर्व–स्थापना गर्न निर्देशन दिएपछि प्रयोगकर्ताहरूको गोपनीयताबारे गम्भीर चिन्ता उब्जिएको छ । एप हटाउन नपाइने प्रावधानले आलोचना झनै तीव्र बनेको छ ।

सन् २०२४ को सरकारी तथ्याङ्कअनुसार भारतमा एक अर्ब १६ करोड मोबाइल फोन प्रयोगकर्ताहरू छन् । सरकारका अनुसार एपले प्रयोगकर्ताहरूलाई ठगी तथा साइबर अपराधबाट थप सुरक्षा दिने उद्देश्य राखेको छ । सरकारले जारी गरेको आदेशअनुसार आगामी ९० दिनभित्र भारतमा उत्पादन वा आयात भएका सबै मोबाइल सेटमा एप अनिवार्य रूपमा प्रीलोड हुनुपर्नेछ । साथै, उपकरण सेटअपको पहिलो चरणमै उपभोक्ताले एप सजिलै देख्न र प्रयोग गर्न सक्नुपर्ने स्पष्ट गरिएको छ ।

सरकारका अनुसार ‘सञ्चार साथी’ हराएको वा चोरी भएको मोबाइल फोन ट्र्याक र ब्लक गर्न, प्रयोगकर्ताको नाममा दर्ता गरिएका नक्कली मोबाइल सदस्यता पहिचान गर्न तथा आवश्यक परे डिस्कनेक्ट गर्न सहयोगी छ । सरकारी तथ्याङ्कले एपमार्फत हालसम्म २६ लाखभन्दा बढी फोन पत्ता लगाउन मद्दत भएको दाबी गर्दछ ।

तर, अधिकारकर्मी तथा साइबर विशेषज्ञहरूले यस कदमलाई गम्भीर निगरानी जोखिमको सुरुआतका रूपमा चित्रण गरेका छन् । अधिकारसम्बन्धी संस्था ‘इन्टरनेट फ्रिडम फाउन्डेसन’ (आइएफएफ) ले आदेशलाई ‘व्यक्तिगत डिजिटल उपकरणमा राज्यको नियन्त्रण विस्तार गर्ने अत्यन्त चिन्ताजनक पहल’ भन्दै कठोर आलोचना गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “सरकारले प्रत्येक भारतीय स्मार्टफोन प्रयोगकर्तालाई खुला–अन्त निगरानी क्षमतायुक्त एप स्वीकार गर्न बाध्य पार्दैछ, त्यो पनि आवश्यक संवैधानिक सुरक्षा बिना ।”

पहिले नै बजारमा रहेका फोनहरूमा पनि सफ्टवेयर अपडेटमार्फत एप अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने सरकारी आदेशले गोपनीयताबारेको बहसलाई थप चर्काएको छ ।

साइबर सुरक्षा विश्लेषक निखिल पाहवाले एक्समा लेख्दै प्रश्न उठाएका छन्, “हामी कसरी निश्चित हुन सक्छौँ कि एपले हाम्रो फाइल, सन्देश वा अन्य निजी सामग्रीमा पहुँच गर्दैन ?भविष्यका अपडेटहरूले निगरानी क्षमतामा वृद्धि गरेनन् भन्ने ग्यारेन्टी के छ ?” उनले यो कदमलाई ‘स्पष्ट रूपमा गोपनीयताको उल्लङ्घन’ भनेका छन् ।

प्रतिपक्ष काङ्ग्रेस पार्टीले भने यसलाई असंवैधानिक भन्दै आदेश तुरुन्त फिर्ता लिन माग गरेको छ । काङ्ग्रेस नेता केसी वेणुगोपालले एक्समा लेख्छन्, “बिग ब्रदरले नागरिकहरूलाई हेरिरहन मिल्दैन । स्थापना रद्द गर्न नपाइने सरकारी एप एक डिस्टोपियन निगरानी उपकरण हो, जसले प्रत्येक भारतीयको हरेक गतिविधि नियाल्छ ।”

यसअघि अगस्टमा रुसले पनि नयाँ फोन तथा ट्याब्लेटहरूमा ‘म्याक्स’ नामक अफिसियल मेसेजिङ एप अनिवार्य गर्ने निर्देशन जारी गरेको थियो, जसलाई अधिकार समूहहरूले शक्तिशाली निगरानी माध्यमका रूपमा प्रयोग गर्न सकिने चेतावनी दिएका थिए ।

भारतमा भने यो प्रीलोड आदेशले गोपनीयता, डिजिटल स्वतन्त्रता र व्यक्तिगत उपकरणमा राज्यको अधिकार सीमा सम्बन्धी बहसलाई अभूतपूर्व रूपमा चर्काएको छ ।

 

मार्तडीमा आगलागी, करोडौंको क्षति

बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ । आगलागीबाट करोडौं रुपैयाँको क्षति भएको छ । बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको पसलमा विद्युतको तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए । पसलमा काठको काम भइरहेको बेला तार सट भएर एक्कासी आगलागी भएको हो ।

आगलागीबाट बडीमालिका–८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएको छ । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । क्षतिको विवरण यकिन हुन नसकेको उनले बताए । दमकल नहुँदा आगो निभाउन निकै समस्या भएको उनको भनाइ छ ।

 

पुटिनको भारत भ्रमणले रणनीतिक साझेदारीलाई नयाँ गति दिने

नयाँदिल्ली । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणलाई रणनीतिक साझेदारी पुनर्जीवित गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिँदै रूसका प्रथम उपप्रधानमन्त्री डेनिस मन्तुरोभले यसलाई ‘वार्षिक उच्चस्तरीय शिखर सम्मेलनको परम्परामा पुनरागमन’ भएको बताएका छन् ।

पुटिनको लामो समयपछि हुन लागेको यो पहिलो भारत भ्रमणका लागि दुवै पक्षका अधिकारीहरूले डिसेम्बर ४–५ मा हुने उच्चस्तरीय बैठकहरूलाई सफल बनाउने उद्देश्यले एजेन्डा सूक्ष्मरूपमा तयारी गरिएको मन्तुरोभको भनाइ छ । उन का अनुसार भ्रमणले दुवै देशबीच दशकौँदेखि कायम रहेको विश्वास, आत्मीयता र रणनीतिक सहकार्यलाई नयाँ गति दिनेछ ।

भारत–रूस फोरम पनि यही अवसरमा नयाँदिल्लीमा आयोजना हुँदैछ, जसमा दुवै देशका प्रमुख सरकारी प्रतिनिधि तथा व्यावसायिक क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूको सहभागिता रहनेछ । फोरमले भारतीय कच्चा पदार्थ, उपकरण र खाद्य सामग्रीको निर्यात विस्तार, द्विपक्षीय व्यापारको विविधीकरण, संयुक्त लगानी परियोजना र उच्च प्रविधि क्षेत्रमा सहकार्य वृद्धिका विषयमा गहन छलफल गर्नेछ । मन्तुरोभले फोरम व्यवसाय–व्यवसायबीच प्रत्यक्ष संवाद र साझेदारी विस्तार गर्ने प्रभावकारी मञ्च बन्ने अपेक्षा रहेको बताएका छन् ।

अर्को दशकमा भारत–रूस सम्बन्धबारे सोधिएको प्रश्नमा मन्तुरोभले दुवै राष्ट्र ‘साँचो र दीर्घकालीन मित्रता’ मा आधारित भएर अझ लचिलो, सक्षम र भविष्यमुखी सहकार्यतर्फ अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार विश्व राजनीति र अर्थतन्त्र तीव्र गतिमा परिवर्तन भइरहे पनि भारत र रूस आपसी हितका क्षेत्रमा—विशेषतः उच्च प्रविधि उद्योग, वैज्ञानिक अनुसन्धान र रणनीतिक समन्वयमा—गहिरो रूपमा जोडिनेछन् ।

रूसी उपप्रधानमन्त्रीका अनुसार ग्लोबल साउथको प्रभाव बढिरहेको अवस्थामा मस्को–नयाँदिल्ली सहकार्यले विश्वव्यापी सन्तुलनमा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ । संयुक्त प्रयासका कारण दुवै राष्ट्रको आवाज अन्तर्राष्ट्रिय मञ्चमा अझ प्रभावकारी बन्दै जाने उनको अपेक्षा छ ।

रुसी राष्ट्रपति पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा डिसेम्बर ४–५ मा भारत भ्रमण गर्न लागेको हो । उनले २३औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री मोदीसँग उच्चस्तरीय वार्ता गर्नेछ । भारतका राष्ट्रपतिबाट पनि शिष्टाचार भेटका साथै सम्मानमा विशेष भोजको व्यवस्था हुनेछ ।

यस भ्रमणले सन् २०२१ पछि पुटिनको पहिलो भारत आगमनलाई चिह्नित गर्नेछ । दुवै नेताबीच पछिल्लोपटक यस वर्ष सेप्टेम्बरमा चीनको तियानजिनमा भएको एससिओ शिखर सम्मेलनको क्रममा भेटघाट भएको थियो ।

यो उच्चस्तरीय भेटघाटले द्विपक्षीय सम्बन्धको प्रगतिको समीक्षा, ‘विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’ को दिशानिर्देश तय गर्ने तथा क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूमा आपसी समन्वय बढाउने महत्त्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

जनकपुर बोल्ट्सको पहिलो जित, चितवन फेरि पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जित हात पारेको छ । सुरुआती ४ खेलमा हार व्यहोरेको जनकपुरले आफ्नो पाँचौ खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्‍यो । चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो । जनकपुरको जितका ओपनर माज सदाकतले सर्वाधिक ६३ रन बनाए । अनिल शाह ६१, आसिफ शेख १६ र जोन निकोल लोफ्टी इन्टन ११ रनमा आउट भए । आदित्य मेहता १८ र सन्जय कृष्णमुर्ती ५ रनमा अविजित रहे ।

बलिङमा चितवनका सोहिल तन्विर, कमलसिह ऐरी र अमरसिंह रौटेलाले एकएक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो । चितवनका लागि ओपनर डेविड मलानले सर्वाधिक ८० रन बनाए । उनले ५४ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । उनले अर्जुन साउदसँग पहिलो विकेटका लागि ११२ रनको साझेदारी गरेका थिए । अर्जुन ५२ रनमा आउट भए । सैफ जैव ७, रवि बोपारा ३ रनमा आउट भए । कप्तान कुशल मल्ल ३० र अमरसिंह रौटेला एक रनमा अविजित रहे । अन्तिम ओभरमा कुशलले १८ रन जोडे । बलिङमा जनकपुरका अनिल शाह, माज सदाकत, रुपेश सिंह र जोन निकोल लोफ्टी इन्टनले एकएक विकेट लिए ।

 

दुर्गा प्रसाईलाई प्रधानमन्त्री कार्कीको निम्तो

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग छलफल गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीले प्रसाईलाई छलफलका लागि मंसिर २२ गतेको समय दिएकी छन् । प्रधानमन्त्रीले समसामयिक विषयमा छलफल तथा भेटघाटका लागि सिंहदरबार बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राजसंस्था पुनःस्थापनाको वकालत गर्दै आएका विवादास्पद मेडिकल व्यवसायी प्रसाईलाई वार्ताका लागि बोलाएको हो । उनलाई वार्तामा आउन आग्रह गर्दै कार्यालयले पत्र पठाएको हो ।

आफ्नो माग पुरा नभएमा फागुन २१ गते निर्वाचन हुन नदिने घोषणा गरेका प्रसाईसँग सोही सन्दर्भमा छलफल गर्न लागिएको कार्यालय स्रोतले बताएको छ । स्रोत भन्छ, ‘प्रसाईलाई आमन्त्रण पत्र पठाइएको छ । उनले फागुन २१ गते निर्वाचन हुन नदिने भनेका छन्, त्यही विषयमा छलफल गर्न होला ।’ गृहमन्त्री ओमप्रकाश अर्यालले गत मंसिर १२ गते प्रसाईसँग सिंहदरबारमा छलफल गरेका थिए । प्रसाईले सरकार समक्ष विभिन्न माग राख्दै आएका छन् ।

माज र अनिलको अर्धशतकमा जनकपुरको पहिलो जित, चितवनको तेस्रो हार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत साबित विजेता जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरले यस सिजनको पहिलो जित निकालेको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर १७७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले १७ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १८० रन बनाएको हो ।

माज सदाकत र अनिल शाहको अर्धशतकसहितको लयको ब्याटिङले जनकपुरले जित निकालेको हो ।

नेपाली चढेको बस भारतमा ट्रकसँग बोक्किएर आगलागी, को–को परे ? (सूचीसहित)

काठमाडौं । भारत–नेपाल सीमा नजिकैबाट दिल्लीतर्फ जाँदै गरेको एक निजी बस मंगलबार बिहान उत्तरप्रदेशको बलरामपुरमा दुर्घटनामा पर्दा ठूलो जनधनको क्षति भएको छ । मध्यराति करिब २ः३० बजे बस र ट्रक एकआपसमा ठोक्किँदा भीषण आगलागी भएको भारतीय प्रहरी र स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यूपी २२ एटी ०२४५ नम्बरको बस र यूपी २१ डीटी ५२३७ नम्बरको ट्रक फुलबरिया सडक खण्डमा ठोक्किएपछि बस करिब १०० मिटर घिस्रिँदै गएर हाइटेन्सन लाइनको पोलमा ठोक्किएको थियो । पोल भाँचिएर बसमाथि खस्दा करेन्ट फैलिएको र त्यसपछि आगो सल्किएको अनुमान गरिएको छ । बलरामपुरका एसपी विकास कुमारका अनुसार ट्रकको ट्यांकी फुटेर आगो तीव्र बनेको सम्भावना छ । घटनाको अनुसन्धान भइरहेको छ ।

दुर्घटनामा बसमा सवार ३ जनाको जलेर मृत्यु भएको पुष्टि भएको छ भने २४ जना घाइते छन् । तीमध्ये ६ जनाको अवस्था गम्भीर छ । बसमा जम्मा ४५ जना यात्रु थिए, जसमा अधिकांश नेपाली रहेको बताइएको छ ।
समाचार स्रोतमा उल्लेख भएअनुसार, घाइतेमध्ये धेरै जना नेपालका विभिन्न जिल्लाका छन् । पहिचान खुलिएका घाइतेहरू यस प्रकार छन्—
गुल्मी-तम्घास र आसपासकाः
शिवबहादुर परियार (गुल्मी, तम्घास)
विशाल गुरुङ (गुल्मी, तम्घास)
लालबहादुर (छत्रकोट, गुल्मी)
उसा (गुल्मी)
वसन्त सर्तुंगी (तम्घास, गुल्मी)
गुनबहादुर (गुल्मी)
बुटवल क्षेत्रका

पूर्णिमा परियार

दिवाकर न्यौपाने (बुटवल)
दिया योगी (बुटवल)
सोनाम (बुटवल)
अनिसा (बुटवल)
अन्य नेपाली जिल्ला÷स्थानका ः
कृष्णबहादुर (कावासोती)
विष्णुबहादुर
अनिलबहादुर
सरस्वती
सुबोध अर्याल (स्याङ्जा)
कमलबहादुर पौडेल (मोरङ)
भुवन
ओमबहादुर (पाल्पा)
बोधबहादुर (सुनवल, नवलपरासी)
धनकुमारी
भारतीय नागरिक घाइतेः
खैरुल बुभ (भगवानपुर, बिहार)
नाउद अली (भगवानपुर, बिहार)
विक्रम (कर्नाल, हरियाणा)

दुर्घटनापछि उद्धारमा स्थानीय, प्रहरीले तथा दमकलको टोलीले सहकार्य गरेका थिए । आगो नियन्त्रणमा लिन निकै समय लागेको तथा धेरै जना यात्रु बसबाट फालिएर बाँच्न सफल भएको बताइएको छ । घटनामा मृतकहरूको पहिचान भने अझै खुल्न बाँकी छ । भारतीय प्रहरी तथा स्थानीय प्रशासनले घाइतेको उपचार र परिवारजनलाई सूचित गर्ने कार्य अघि बढाइरहेका छन् ।

एनपीएलमा अनिल साहको पहिलो अर्धशतक

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो खेलमा जनकपुर बोल्ट्सका ब्याटर अनिल साहले अर्धशतक प्रहार गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार चितवन राइनोज विरद्ध अनिलले २८ बलमा अर्धशतक बनाएका हुन्। उनले दुई चौका र तीन छक्का प्रहार गरे।

जारी एनपीएलमा यो उनको पहिलो अर्धशतक हो।

एम्बुलेन्स दुर्घटनामा दुई गम्भीर घाइते

टक्सार (भोजपुर) ।  यहाँको हतुवागढी गाउँपालिका–६ होम्ताङमा आज एम्बुलेन्स दुर्घटना भएको छ ।

दुर्घटनामा चालक सञ्जीव राई र स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका छन् । प्रदेश १– ०२–००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो । बिरामीलाई होम्ताङ पु¥याएर घोडेटार फर्किनेक्रममा बिहान करिब पौने दश बजेको समयमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ ।

घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारमा पठाउने तयारी भइरहेको वडाध्यक्ष सुरेशकुमार राईले जानकारी दिएका छन् ।

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक

काठमाडौं । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुवाको निधन भएको छ । उनका ९५ वर्षीय बुवा कुलबहादुर श्रेष्ठ आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । उनलाई हृदयघात भएपछि अस्पताल लगिएको थियो । चिकित्सकले बिहान साढे ११ बजे श्रेष्ठलाई मृत घोषणा गरेका थिए । उनको आजै दिउँसो पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने छ । उनका ३ छोरा र २ छोरी छन् ।

यसैबीच, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई परेको पितृशोकप्रति दुःख व्यक्त गरेका छन् । ‘पूर्व प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठलाई पर्न गएको पितृशोकप्रति गहिरो दुःख व्यक्त गर्दछु’, प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दिवंगत पिताजीमा श्रद्धाञ्जली अर्पण गर्दै यस दुःखद् घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

देश विकासका लागि श्रमदान अपरिहार्य : हर्क साम्पाङ

धरान । देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले बताएका छन् ।

धरान उपमहानगरका प्रमुख समेत रहेका उनले आज धरानमा पार्टीको घोषणापत्र तथा एजेन्डा सार्वजनिक गर्दै भने, ‘जनतालाई देश र माटोसँग जोड्नु आवश्यक छ । केवल योजनाबद्ध काम र बजेटमा निर्भर रहँदा विकास ढिलो हुन्छ । छिटो विकासका लागि श्रमदान अपरिहार्य छ ।’

श्रमदानबाट विकास गर्दा जनता आफैँ संलग्न हुने उनको भनाइ छ । देशको दिगो विकासलाई मध्यनजर गर्दै श्रम संस्कृति पार्टी स्थापना गरिएको उनले स्पष्ट पारे।

अध्यक्ष राईले भने, ‘पार्टीको उद्देश्य केवल श्रमलाई मूल्यांकन गर्नु मात्र नभइ, श्रम गर्ने श्रमिकलाई न्याय दिने प्रयास निरन्तर रहिरहने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।’

जेनजी आन्दोलनमा घाइते उद्धार गरेकी किशोरी चुनाव लड्ने

काठमाडौं । जेनजी आन्दोलनमा घाइतेलाई सहयोग गरेर चर्चामा आएकी किशोरी कार्कीले ओखलढुंगाबाट चुनाव लड्ने भएकी छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ओखलढुंगाबाट चुनाव लड्ने जानकारी दिएकी हुन् । उनले ओखलढुंगा मुटुको धड्कन, जीवनको पहिचान भएको बताउँदै लेखेकी छन्, ‘यही माटोमा म जन्मिएँ, यही माटोमै मेरो बुवाको सपना अधुरै छाडियो र यही माटोमै मेरी आमाले आधा जीवन आँशु पुछ्दै बिताउनु पर्‍यो ।’

 

कुशल मल्लले छक्का हानेको बलले लागेर चियर लिडर घाइते

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजका कुशल मल्लले प्रहार गरेको छक्काले चियर लिडर घाइते भएकी छिन्। उनले जनकपुर बोल्ट्सविरुद्धको खेलमा छक्का प्रहार गर्दा क्रिकेट मैदानमै रहेकी चियर लिडरको नाकमा बलले लागेको थियो।

मल्लले अन्तिम ओभरको चौथो बलमा छक्का प्रहार गरेको बल उनको नाकमा लागेको हो। बलले लागेपछि चियर लिडरको नाकबाट रगत समेत बगेको थियो।

हरेक खेलको चौका र छक्कामा चियर लिडरले सेलिब्रेट गर्ने गर्दछन्।

तीन दिनदेखि गाडीसहित बेपत्ता एक जनाको शव भेटियो

कटारी(उदयपुर) । तीन दिनदेखि सुमो गाडीसहित बेपत्ता ललितपुरको महालक्ष्मी नगरपालिका– ८ लुभुका अन्दाजी ४० वर्षीय दीपेन्द्र केसीको शव उदयपुरको कटारी–१४ पाखेमारा भीरमा भेटिएको छ ।

इलाका प्रहरी कार्यालय कटारीकाअनुसार सोमबार साँझ सडकबाट तीन सय मिटर तल सुमो क्षतिग्रस्त रुपमा भेटिएको थियो । क्षतिग्रस्त सुमोसँगै केसीको शव भेटिएको हो । प्रहरीले मध्यराति नै भिरबाट शव निकालेर शव परीक्षणका लागि कटारी अस्पताल ल्याएको छ । ना १ ज ५८१२ नं को सुमो लिएर१३ मङ्सिरमा केसी उदयपुरको ताप्ली गाउँपालिका रुपाटार जान्छु भनी हिँडेका थिए ।

रुपाटारमा विवाहका लागि जन्ती जान रिजर्भ भएकाले केसी एक्लै सुमो लिएर निस्किएका थिए । शनिबार राति सिन्धुलीको खुर्कोट प्रहरी बिटमा ‘इन्ट्री’ गरेर आएका केसी रातिदेखि सम्पर्कविहिन भएका थिए । कटारी–१४ घुर्मी नजिकसम्म आइपुगेको जानकारी गराएपछि उनी बेपत्ता भएको सिन्धुलीको दूधौलीमा रहेकी श्रीमती सुशीला कार्कीले बताएकी छिन् ।

पmोन लाग्ने तर नउठ्ने भएपछि स्थानीय, प्रहरी लगायतले कटारी– १४ आसपासमा खोजी गरेका थिए । खोजीका क्रममा सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकखण्डको पाखेभीरमा शव फेला पारेका हुन् । केसी रातिको १२ बजेतिर दुर्घटनामा परेको हुनसक्ने अनुमान प्रहरीको छ । पाखेभीर आसपास गाउँ नभएको र अनकन्टार भीर भएकाले घटनाबारे कसैले पनि थाहा पाउन सकेका थिएनन् ।