`

खामेनीका समर्थकको आँसु नक्कली : ट्रम्प

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा लाखौं मानिस सहभागी भएको दृश्य आफूलाई अप्रत्याशित लागेको बताएका छन्।

एक अमेरिकी सञ्चारमाध्यमसँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले खामेनीप्रति इरानी जनताको व्यापक असन्तुष्टि रहेको आफ्नो दाबी दोहोर्याउँदै अन्त्येष्टिमा देखिएको शोकप्रति समेत शंका व्यक्त गरेका हुन्।

उनले भने, “शोक समारोहमा केही मानिसहरू रोइरहेको देखेर म छक्क परेँ। मलाई लाग्छ उनीहरू खामेनीलाई घृणा गर्छन्। सायद ती आँसु नक्कली हुन सक्छन्।”

ट्रम्पले शोक समारोहमा उपस्थित इरानका शीर्ष नेतृत्व अमेरिकाको निगरानीमा रहेको दाबी गर्दै आवश्यक परे उनीहरूलाई “एकै प्रहारमा मार्न सकिन्छ” भने पनि त्यसो नगर्ने निर्णय गरिएको बताएका छन्।

उनका अनुसार इरानकै अनुरोधमा खामेनीको साताव्यापी शोक अवधि सकिएसम्म अमेरिकाले कुनै पनि सैन्य कारबाही नगर्ने निर्णय गरेको हो। अहिले आक्रमण गरिए भविष्यमा वार्ताका लागि आवश्यक पक्ष नै नरहने भएकाले संयम अपनाइएको उनको भनाइ थियो।

ट्रम्पको अभिव्यक्तिप्रति भने इरानले कडा प्रतिक्रिया जनाएको छ। इरानी अधिकारीहरूले उनको टिप्पणीलाई उक्साहटपूर्ण, गैरजिम्मेवार र अस्वीकार्य भएको भन्दै त्यसको आलोचना गरेका छन्।

 

बाटोमा हिँडिरहेकी युवतीमाथि अश्लील हर्कत गर्ने ५५ वर्षीय भट्ट पक्राउ

काठमाडौं। ललितपुरको इमाडोल क्षेत्रमा सडकमा हिँडिरहेकी एक युवतीप्रति अश्लील व्यवहार गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

सामाजिक सञ्जालमा घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गर्दै आरोपितलाई सोमबार इमाडोलबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बाजुरा स्थायी घर भएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार प्रारम्भिक अनुसन्धानमा उनी सरकारी सेवामा कार्यरत शिक्षा अधिकृत रहेको खुलेको छ। यद्यपि, उनी कुन कार्यालयमा कार्यरत छन् भन्ने विषयमा थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आइतबार साँझ भएको घटनाबारे सोमबार जानकारी प्राप्त भएपछि तत्काल खोजी अभियान सञ्चालन गरिएको थियो। त्यसक्रममा भट्टलाई इमाडोल क्षेत्रबाट पक्राउ गरिएको हो।

घटनापछि प्रहरीले पीडित युवतीसँग पनि सम्पर्क गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार पीडित युवती औपचारिक जाहेरी दर्ताका लागि प्रहरी कार्यालय आउँदै छिन्। जाहेरी दर्तापछि आरोपितविरुद्ध प्रचलित कानुनअनुसार थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने उनले बताए।

घटनाको भिडियो आइतबार साँझ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। भिडियोमा एक पुरुषले युवतीतर्फ लक्षित गर्दै अश्लील हर्कत गरेको देखिएको दाबी गरिएको छ। त्यस क्रममा युवतीले प्रतिकार गर्दै घटनाको भिडियोसमेत खिचेकी थिइन्।

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि घटनाको व्यापक चर्चा भएको छ। धेरैजसो यस्ता घटनामा पीडितहरू मौन रहने वा तत्काल त्यहाँबाट टाढिने अवस्था देखिने गरे पनि यस घटनामा युवतीले प्रतिकार गर्दै प्रमाण सुरक्षित गरेको भन्दै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

कांग्रेस सा‌सद काउचाले खाेजिन्- जेनजी आन्दोलनकाे अर्बौँ क्षतिको हिसाब

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले जेनजी आन्दोलनका क्रममा भएको सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिको क्षतिकाे हिसाब खाेजेकी छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै काउचाले वर्तमान संसद जेनजी आन्दोलनपछिको राजनीतिक घटनाक्रमको उपज भए पनि आन्दोलनका क्रममा भएको अर्बौँ रुपैयाँको क्षति र त्यसको यथार्थ अवस्था अझै अस्पष्ट रहेको बताइन्।

उनले भनिन्, ‘अहिले हामी यस्तो सम्मानित सदनमा उभिरहेका छौँ, जुन भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको उपज हो। तर जेनजी आन्दोलनका नाममा भएको सरकारी, सार्वजनिक र निजी सम्पत्तिको अर्बौँको क्षतिको प्रश्नहरू अझै पनि अनुत्तरित छन्। सरकारसँग तथ्य छैन कि तथ्य लुकाइएको छ? यो प्रश्न आज नागरिकहरूले उठाइरहेका छन्।’

काउचाले सरकारले आन्दोलनसँग सम्बन्धित विभिन्न विषयमा संसदलाई जवाफ दिनुपर्ने माग गर्दै ध्वस्त भएका संरचनामध्ये कति पुनर्निर्माण भए, शहीद घोषणा गरिएका परिवार र घाइतेहरूको अवस्था कस्तो छ, लुटिएका हतियारमध्ये कति फेला परे र कति अझै हराइरहेका छन् तथा जेलबाट फरार भएका कैदीमध्ये कति पक्राउ परे र कति अझै फरार छन् भन्ने विवरण सार्वजनिक गर्न आग्रह गरिन्।

उनले भनिन्, ‘यी विषय राष्ट्रिय सुरक्षा र कानुनी शासनसँग प्रत्यक्ष रूपमा जोडिएका गम्भीर सवाल भएकाले म सरकारसँग विस्तृत जवाफको अपेक्षा गर्दछु,’ उनले भनिन्।

काउचाले सरकारले भाषण र घोषणाले जनताकाे विश्वास जित्ने नभई जवाफदेहिता र पारदर्शिताबाट जित्नुपर्नेमा जोड दिइन्।

उनले भनिन्, ‘सरकारले जनताको विश्वास जित्न चाहन्छ भने घोषणाले होइन, जवाफदेहिताले जित्नुपर्छ। भाषणले होइन, सत्य सार्वजनिक गरेर जित्नुपर्छ। सुशासनका नाराले होइन, कानुनको निष्पक्ष कार्यान्वयनबाट जित्नुपर्छ।’

उनले जेनजी आन्दोलनसँग जोडिएका सबै तथ्य संसद र जनतासामु पारदर्शी रूपमा सार्वजनिक गर्न सरकार गम्भीर बन्नुपर्ने माग गर्दै आफ्नो सम्बोधन टुंग्याइन्।

सरकारको देखाउने दाँत एउटा, चपाउने दाँत अर्को : आङ्देम्बे [पूर्णपाठ]

काठमाडाैं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले  सरकारको पहिलो १०० दिनको कार्यशैलीलाई ‘हात्तीको देखाउने दाँत’ सँग दाँज्दै घोषणा र व्यवहारबीच तीव्र अन्तर रहेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले प्रचारमा सुधार, व्यवहारमा अपारदर्शिता, र संवादभन्दा एकल निर्णयलाई प्राथमिकता दिएको दाबी गरे।

आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदप्रति बेवास्ता गरेको, सामाजिक सञ्जालमा ‘भाइरल’ हुन खोजेको, तथा संवैधानिक परिषदको बैठकमा ६ सदस्यमध्ये ३ जनाकै उपस्थितिलाई ‘बहुमत’ मानेको घटनालाई गैरसंवैधानिक आरोप लगाए। सम्पत्ति छानबिनको सुरुवात आफू (केरुङ) र प्रधानमन्त्री शाहबाटै गर्नुपर्ने माग गर्दै उनले प्रधानमन्त्रीको करिब २०० तोला सुन खरिदको स्रोतबारे प्रश्न उठाए।

सुकुम्बासी विस्थापन, संघीयता विरोधी अभिव्यक्ति, गृहमन्त्रीको शेयर प्रकरणको प्रतिवेदन लुकाउने, बीवाईडी गाडी प्रकरणमा आफैंले आफैंलाई चोख्याउने, तथा २३ र २४ भदौका घटनाका प्रतिवेदन सार्वजनिक नगरेको विषयमा पनि उनले कडा आलोचना गरे। किसानलाई मल अभाव, २५ जनाको ज्यान लिने हात्ती नियन्त्रणमा सरकार निष्क्रिय रहेको भन्दै उनले सरकारको १०० बुँदे कार्यसूची ‘कागजमा मात्र’ रहेको निष्कर्ष निकाले।

आङ्देम्बेले संघीयता मास्ने कुनै पनि प्रयासको विरोध गर्दै, संविधान संशोधनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गठन गर्न सुझाव दिए। सरकारलाई आत्मसमीक्षा र नागरिकमैत्री काम गर्न आग्रह गर्दै उनले भने- ‘लोकतन्त्रमा सरकारको मूल्याङ्कन जनताको अनुभवले हुन्छ, प्रचारपत्रले होइन।’

पूर्णपाठ 

‘सम्माननीय सभामुख महोदय,

सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गरेको छ। कसैले पनि सय दिनमै चमत्कार गर्छ भन्ने अपेक्षा गरेको हुँदैन । तर सय दिनले सरकारको सोच, प्राथमिकता, कार्यशैली, लोकतन्त्रप्रतिको दृष्टिकोण र देशलाई कुन दिशामा लैजान खोजिरहेको छ भन्ने चित्र भने देखाउँछ । र, सय दिन उपलब्धिको सूची सार्वजनिक गर्ने अवसर मात्र नभएर आत्मसमीक्षा गर्ने समय पनि हो।

यसबीच सरकारले सय दिनको अवसरमा सार्वजनिक गरेको उपलब्धिहरु मैले पढेँ । मेरो पार्टीले समीक्षा गर्‍यो । सरकारले गरेका केही प्रयासलाई म सकारात्मक रुपमा लिन्छु । सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, सेवा प्रवाह र केही संरचनागत सुधारका विषयमा सरकार सक्रिय देखिएको छ। सकारात्मक काम जहाँ भएका छन्, त्यसको प्रशंसा गर्न कांग्रेस कन्जुस्याइँ गर्दैन । किनभने सरकार सफल हुँदा अन्ततः सफल हुने भनेको नेपाली जनता हुन् । नेपाल देश हो ।

तर लोकतन्त्रमा सरकारको मूल्याङ्कन सरकार आफैंले तयार पारेको उपलब्धिको पुस्तिकाबाट हुँदैन। मूल्याङ्कन नागरिकको अनुभवबाट हुन्छ। संविधानको सम्मानबाट हुन्छ। संसदप्रतिको उत्तरदायित्वबाट हुन्छ। सार्वजनिक संस्थाहरूको विश्वसनीयताबाट हुन्छ। कानुन सबैका लागि बराबर लागू भयो कि भएन भन्ने आधारबाट हुन्छ। र, सबैभन्दा महत्वपूर्ण कुरा त नागरिकको जीवनमा परिवर्तन आयो कि आएन भन्ने आधारबाट हुन्छ।

आज म प्रतिपक्ष दलको तर्फबाट केही प्रश्न गर्न चाहन्छु र यी प्रश्न सरकारलाई अझ जिम्मेवार बनाउनका लागि हो। र, बिर्सिनु हुँदैन कि लोकतन्त्रमा प्रश्न गर्नु विरोध होइन, उत्तरदायित्व हो। सबैभन्दा पहिले हामी प्रधानमन्त्रीको संसदीय उत्तरदायित्वबारे कुरा गर्न चाहन्छौं।

नेपालको संविधानले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाएको छ। संसद सार्वभौम जनताको प्रतिनिधि संस्था हो। त्यही संस्थाको सदस्य प्रधानमन्त्रीजी हुनुहुन्छ । उहाँको सरकार त्यही संसदको विश्वासमा टिकेको हो। त्यसैले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ । तर विगत सय दिनमा प्रधानमन्त्रीजीको कार्यशैली हेरेपछि म प्रधानमन्त्रीजीलाई स्मरण गराउँछु कि धुरीमा चढेपछि सिँडी भुल्नु हुँदैन । तपाईं सत्ताको धुरी चढ्ने अनि तपाईंलाई धुरीमा पुर्‍याउने संसद बिर्सिने ? संसदलाई अवमूल्यन गर्ने ?  

म प्रधानमन्त्रीजीलाई गम्भीरतापूर्वक सोध्न चाहन्छु कि यदि संसद नै तपाईंको प्राथमिकतामा पर्दैन भने संसदीय लोकतन्त्र कसरी बलियो हुन्छ ? यदि प्रधानमन्त्री संसदमा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई बढी प्रभावकारी ठान्नुहुन्छ भने जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कसरी कायम रहन्छ ?

लोकतन्त्रमा लोकप्रिय हुनु र उत्तरदायी हुनु एउटै कुरा होइन। सँगै म स्मरण गराउन चाहन्छु- प्रख्यात हुनु र लोकप्रिय हुनु पनि एउटै होइन । अझै बुझ्नेगरी भन्नु पर्दा फेमस हुँदै गर्दा लोकप्रिय भएँ भनेर भ्रमपूर्ण जिन्दगी पनि हामी कटाइरहेका हुन्छौँ । र म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु- सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ तर देशको प्रधानमन्त्रीका रुपमा गहन र गम्भीर भएर कार्य गर्न गाह्रो छ । त्यसैले प्रधानमन्त्रीज्यू, तपाईंले भाइरल हुने बाटो त्याग्नुहोस् । भूली दिनुहोस् । तपाईं देशको प्रधानमन्त्री भइसक्नुभयो । प्रधानमन्त्रीका रुपमा मुलुकलाई सही ढङ्‍गले ड्राइभ गर्नुहोस् । एक्सप्रेस वेमा नै ड्राइभ गर्नुहोस् तर निकै सम्हालिएर । दुर्घटनामा पर्दा तपाईं मात्रै होइन सिङ्गो देश दुर्घटनामा पर्छ ।

 सभामुख महोदय,

संसदमा जब जब विपक्षी दलका नेताले बोल्छन् संसारका लोकतान्त्रिक शासन व्यवस्था भएका देशका प्रधानमन्त्रीहरु मुस्कुराउँदै अघिल्लो बेन्चतिर बस्छन् । तर यहाँ हाँस्दै हाँस्दै विपक्षी नेतालाई सुन्नुपर्नेमा प्रधानमन्त्रीजीलाई मैले देखिरहेको छैन। यसका बाबजुद म उहाँलाई फेरि पनि खोज्दिनँ । संसदमा हुनुपर्ने उहाँको जिम्मेवारी हो । सम्झाउनुपर्ने मेरो दायित्व हो । म जान्दछु- उहाँ यहाँ नभएपछि म खोज्ने दुख गर्न चाहन्नँ ।

सभामुख महोदय,

लोकतन्त्रको अर्को महत्वपूर्ण आधार संवाद हो। लोकतन्त्र संवादबाट चल्छ, सहमतिबाट अघि बढ्छ र असहमतिलाई पनि सम्मान गर्छ। तर विगत सय दिनमा सरकारको कार्यशैली हेर्दा संवादभन्दा दूरी, सहकार्यभन्दा टकराव र परामर्शभन्दा एकल निर्णयलाई प्राथमिकता दिएको देखियो।

राष्ट्रिय महत्वका विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्ने थियो । तर सरकार एक्लै अघि बढ्न खोज्यो । स्मरण रहोस्- खुट्टा सुल्टो, जुत्ता उल्टो लगाएर गन्तव्यमा पुगिँदैन । लोकतान्त्रिक बाटो सुल्टो हो । सुल्टो बाटोबाट आएका प्रधानमन्त्रीजीले जुत्ता उल्टो लगाउन खोजेपछि निश्चित छ- सही गन्तव्यमा पुग्न सकिँदैन । गन्तव्यमा पुग्न सुल्टै बाटो हिँड्नुपर्छ । फेरि छिटो हिँडेर मात्रै पनि पुगिँदैन । हिँड्ने बाटो सही हुनुपर्छ र प्रधानमन्त्रीजी लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो तर मष्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नु भएको भान मलाई भएको छ। यो राम्रो संकेत पटक्कै होइन ।

म विनम्रतापूर्वक आग्रह गर्दछु- विपक्षी दल देशको सम्मुनतिका लागि, लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागि र संविधानको औचित्यपूर्ण संशोधनका लागि सरकारलाई सहयोग गर्दछ । यदि सरकारले राष्ट्रिय सहमतिका लागि हात बढाउँछ भने नेपाली कांग्रेस सधैं सकारात्मक भूमिका खेल्न तयार छ।

सभामुख महोदय,

सरकार लोकतान्त्रिक भन्ने तर अलोकतान्त्रिक काम गर्ने, सुशासन भन्ने सम्पत्तिको स्रोत नखोल्ने । तर १०० दिने उपलब्धिमा सम्पत्ति छानबिन गरेर भ्रष्टाचारविरुद्धको अभियान थालेको भन्ने । स्वाभाविक रुपमा भ्रष्टाचार नियन्त्रणमा सरकारले देखाएको इच्छाशक्तिलाई म स्वागत गर्छु । भ्रष्टाचार गर्ने जोसुकै होस्, जुनसुकै दलको होस्, जुनसुकै पदमा बसेको होस्, कानुनको दायरामा आउनुपर्छ। यसमा नेपाली कांग्रेसको कुनै विमति छैन।

तर प्रश्न भने छ । ३५ वर्षसम्म देशमा काम गर्ने वातावरण भएन भन्नुभयो प्रधानमन्त्रीजीले । तर प्रधानमन्त्री भए लगत्तै प्रधानमन्त्रीजीको सम्पत्तिमा झण्डै दुई सय तोला सुन देखियो । करोड बढी बैंक मोज्दात देखियो । प्रधानमन्त्रीजी ! नेपाली कांग्रेसले तपाईंले किन सुन आर्जन गर्नुभयो ? सोध्दैन र खोज्दैन । तर सुन आर्जनको स्रोत के हो ? त्यो सोध्ने त विपक्षीको उत्तरदायी हो । उत्तरदायित्व निर्वाह गर्छौँ । यसबाट हामी भाग्दैनौँ ।

सभामुख महोदय,

हाम्रो मूल चासो भ्रष्टाचार नियन्त्रणमा हो । सम्माननीय प्रधानमन्त्रीज्यूको म सम्मानपूर्वक नामै लिन्छु र भन्छु सम्पत्ति छानबिनको सुरुवात म विपक्षी नेता भीष्मराज आङ्देम्बे र प्रधानमन्त्री बालेन्द्र शाहबाट होस् । मेरो पाँचथरको उम्लाबुङ (नवमीडाँडा)स्थित तीनघरे, सिलौटी र फुङ्सिङको पाखोबारीको छानबिन होस्। प्रधानमन्त्रीजीको झण्डै २०० तोला सुनको पनि छानबिन होस्। तर मलाई पटक्कै विश्वास छैन कि प्रधानमन्त्रीजीले दायाँबायाँ गरेर सुन आर्जन गर्नुभयो भनेर । तर तपाईंलाई मत दिएका मतदाताहरुले परबाट सोधिरहेका छन्- आममम… त्यत्रो धेरै सुनको स्रोत के होला ? कहाँबाट आया होला ? त्यसैले प्रधानमन्त्रीजी छानबिन गरौँ । पूर्वप्रधानमन्त्रीहरुको पनि सम्पत्तिको छानबिन गरौँ । अरु पूर्व उच्च पदस्थ राजनीतिक र कर्मचारी क-कसको छानबिन गर्नुपर्छ गरौँ तर सुरुवात अरुबाट  होइन, हामीबाटै गरौँ । प्रधानमन्त्रीजी तयार हो तपाईं  ? म तयार छु । छानबिन आफैंमाथि चाहिँ नगर्ने, अरुमाथि मात्रै गर्ने भन्ने हुँदैन ।

सभामुख महोदय,

सम्पत्ति छानबिन गर्दा चयनात्मक सिद्धान्त प्रयोग नहोस् । र भ्रष्टाचारविरुद्ध सम्पत्ति छानबिन अभियान विश्वासीलो हुनुपर्छ। त्यो विश्वास तब मात्रै हुन्छ, जब प्रधानमन्त्रीजी आफू पनि निष्पक्ष छानबिनका लागि तयार हुन्छन् र आफ्ना मानिसमाथि छानबिनमा त्यत्तिकै कठोरता देखाउँछन्, जति विपक्षीमाथि देखाउँछन्।

र सम्पत्ति छानबिनका लागि आवश्यक कानुन चाहिन्छ । जुन सत्तारुढ दल रास्वपाको बाचापत्रको १०० सूचीमा थियो । त्यही बाचा भुल्दै सम्पत्ति छानबिनसम्बन्धी कानुन नबनाई छानबिन गर्दा कानुनी वैद्यतामा प्रश्न उठ्छ ।

सभामुख महोदय,

सरकारको १०० दिनमा सबैभन्दा गम्भीर चिन्ताको विषय बनेको लोकतान्त्रिक प्रक्रियामाथिको हस्तक्षेप हो। अचम्म लाग्छ- संसारमा कहीँ नहुने ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाकै उपस्थितिलाई बहुमत भनियो । मलाई लाग्छ- चामत्कारिक युवा प्रधानमन्त्री भएको र एक्सप्रेस वेमा देश हाँकेको प्रधानमन्त्रीको देशमा भयो । र, गौरवको कुरा संसारमा अर्को आश्चर्य थपियो ।

तर, सभामुख महोदय,

यस्तो अभ्यास संविधानविपरीत छ । लोकतन्त्रको मर्मविपरीत छ। यसले सहमतिको संस्कृतिलाई कमजोर बनाउने काम भएको छ। संवैधानिक निकायहरूलाई स्वतन्त्र होइन, सरकारको प्रभावमा ल्याउने प्रयास भएको छ। लोकतन्त्रलाई बलियो बनाउने नभई कमजोर बनाउने काम सरकारले गरेको छ। नेपाली कांग्रेस गैरसंवैधानिक कार्यलाई स्वीकार्दैन । यसको निन्दा गर्छ ।

 सम्माननीय सभामुखज्यू,

म फेरि दोहोर्याउन चाहन्छु– हाम्रो उद्देश्य सरकारको विरोधका लागि विरोध गर्नु होइन। हामी सरकार सफल होस् भन्ने चाहन्छौं, किनभने सरकार सफल हुँदा सफल हुने नेपाली जनता हुन्। नेपाली जनताको जीवनमा परिवर्तन आउने हुन् ।

तर सरकारको सफलता उसले कति डोजर चलायो भन्नेबाट होइन, नागरिकको जीवन कति सुरक्षित बनायो भन्नेबाट मापन हुन्छ। कुनै पनि नागरिकको बसोबास गैरकानुनी थियो होला ।

तर सभामुख महोदय,

 उसको जन्म त गैरकानुनी थिएन होला नि । जन्म दिने आमाको गर्भ त गैरकानुनी थिएन होला नि । उ नेपाली भूमिमा जन्मिनु पनि गैरकानुनी थिएन होला नि सभामुख महोदय । त्यसैले सुकुम्बासीहरुको दीगो व्यवस्थापन व्यवहारमुखी कोणबाट गरिनुपर्छ । तर समाधानको नाममा हजारौं सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकलाई वर्षायामको मुखमा जसरी वैकल्पिक व्यवस्थाविना विस्थापित गरियो । त्यो सरकारको मानवीय संवेदना शून्य भएको क्षण थियो ।

एउटा परिवारलाई हटाउनुअघि कमसेकम त्यो परिवार भोलिदेखि कहाँ बस्छ ? वृद्ध, अशक्त, गर्भवती र साना बालबालिकाको अवस्थाबारे राज्यले सोच्नुपर्दैन ? राज्य यति साह्रै संवेदनाहीन बन्न मिल्छ ? हिजो व्यवस्थापनको नाममा सुकुम्बासी बस्तीबाट बलपूर्वक हटाउने र आश्रयस्थलमा राख्ने । अनि आज त्यहाँबाट रातारात धपाउने ?

 सभामुख महोदय

के यो देश ठूलाबडाको मात्रै हो ? कालो चस्मा, कालै कोट पाइन्ट लाएर कालै गाडीमा हुइँकिनेहरुको मात्रै हो ? सुकुम्बासी, अव्यवस्थित बसोबासी, गरिब, किसान र मजदुरको चाहिँ यो देश होइन ? होइन भने भन्नुपर्‍यो । यदि हो भने किन अत्चाचार गरिन्छ शक्तिहीन नागरिकमाथि ? के यो लोककल्याणकारी राज्यको चरित्र अनुकूल छ ?

त्यसैले मेरो विनम्र आग्रह छ- सुकुम्बासी समस्या समाधान गरौं। तर मानवीय ढंगले गरौं। मानव मर्यादालाई ख्याल गरौं। सत्ताको तुजुक शक्तिहीन नागरिकमाथि प्रयोग नगरौँ । ख्लास होस्- नागरिकमाथि सरकारको विजय कहिल्यै हुँदैन ।

यद्यपि हालै सरकारको आलोचना गर्ने सुकुम्बासी डम्बर तामाङलाई प्रहरीले पक्राउ गर्‍यो । उनको रिहाइको माग गर्दछु । जबकि सरकारकै कोही मन्त्रीले निर्माण व्यवसायीको खुट्टा भाँचिदिन्छु भनेको भिडियो देखियो । मलाई लाग्दैन कि त्यो एआईबाट निर्मित भिडियो भनेर । सत्तारुढ दलकै कोही सांसदले त झन् प्रहरीलाई सडकमा घिसार्ने जस्ता हिंसाप्रेरित, उत्तेजक र कानुनविपरीतको अभिव्यक्ति दिए । सायद त्यो पनि थिएन एआई निर्मित भिडियो । माननीयज्यू, यहीँ कतै हुनुहुन्छ होला । तर सरकार मौन रह्यो । हेक्का रहोस् यो नागरिकको आवाज थुन्ने अँध्यारो शासन होइन यो । त्यसलाई त नेपाली जनताले साढे ७ दशकअघि नै इतिहास बनाइसके । अब त्यस्तै इतिहासको पुनरावृत्ति हुँदैन । हुन दिँदैनौँ पनि। तर ठूलालाई जे भन्दा पनि छुट र सानालाई पक्राउ गर्ने भन्ने हुनु हुँदैन ।

र लोकतन्त्रमा सरकारको आलोचना गर्नु अपराध होइन। सरकारसँग असहमत हुनु विरोध होइन र असहमतिलाई दमन गरेर लोकतन्त्र बलियो हुँदैन। लोकतन्त्र बलियो तब हुन्छ, जब सरकारले आफ्ना आलोचकका कुरा पनि धैर्यपूर्वक सुन्न सक्छ।

सभामुख महोदय,

नेपालको संविधान नेपाली जनताको दशकौं लामो संघर्ष, बलिदान, आन्दोलन र राजनीतिक सहमतिबाट बनेको राष्ट्रिय सम्झौता हो। त्यसैले संविधान संशोधन गर्न नपाइने भन्ने होइन पाइन्छ । यो धर्मशास्त्र होइन अपरिवर्तनीय भन्नलाई । तर संशोधनका नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र संघीय व्यवस्थामाथि अनावश्यक छेडखानी नेपाली कांग्रेसलाई स्वीकार्य हुँदैन ।

संविधान संशोधनजस्तो गम्भीर विषयमा अहिलेसम्म घनिभूत संवाद हुनै सकेको छैन । संविधानले संस्थागत गरेको संघीयतामा छेडखानीको प्रयास भएको छ । स्मरण रहोस्, संघीयताका लागि मधेसले विद्रोह गर्‍यो । आदिवासी जनजाति, थारु, दलित, महिलाले गरेको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त भएको राजनीतिक उपलब्धि संघीयता हो । त्यसो हुनाले संघीयता सितिमिति आएको व्यवस्था होइन । यसलाई तलमाथि गर्न सकिन्छ भनेर नसोचियोस्, बरु सोचियोस् कसरी संघीयताको सबलीकरण गर्ने भनेर ।

सभामुख महोदय,

संविधान निर्माणमा संसदका सबै दल, संसद बाहिरका जनता समाजवादी पार्टीदेखि विभिन्न दलहरु, संवैधानिक कानुनका विज्ञ लगायतबीच संवाद गरौँ । के के मा संशोधन गर्ने गरौँ । तर, संविधानको मुल संरचनामाथि प्रहार नगरिकन ।

सभामुख महोदय,

मौजुदा संविधान कांग्रेसका पूर्वसभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा जारी भयो । कांग्रेसकै निवर्तमान सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सविधानको कार्यान्यवन थालनी भयो । त्यसो हुनाले यो संविधानको अभिभावकत्व र अपनत्व सबैभन्दा बढी नेपाली कांग्रेसले बहन गर्छ । यो हाम्रो अभिभारा हो । तर सर्वपक्षीय रुपमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्छ । अहिले जसरी संविधान संशोधनलाई हल्का रुपमा लिएर सरकारले संवैधानिक कानुनका ज्ञाता नभएको, संविधान निर्माता नभएको व्यक्तिलाई संयोजक बनाएर बहसपत्र तयार गराइँदैछ- एकदमै अपरिपक्व काम भइरहेको छ । यसमा कांग्रेसको रिजर्भेसन सुरुदेखि नै छ । हामीले भन्दै आएका छौँ- सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा संविधान संशोधन सुझाव आयोग गठन गर्नुपर्छ ।

यसबीच सत्तारुढ दल संघीयता मास्नेतिर उद्धत भएको छ । संघीयताको मेरुदण्ड मानिने प्रदेश सभा खारेजीको प्रस्ताव पारित गरिएको छ र त्यसलाई रास्वपाको राजनीतिक दृष्टिकोण भनियो । म सोध्न चाहन्छु सरकारलाई- जनकपुर र झापा पुगेर वर्तमान प्रधानमन्त्रीले संघीयता बलियो बनाउने चुनावअघि भन्नुभएको थियो । तर सत्तारुढ रास्वपाको पहिलो महाधिवेशनले प्रदेशसभा खारेज गर्ने भन्यो । 

सभामुख महोदय,

प्रधानमन्त्रीजी बालेन कि उहाँकै दल रास्वपाका सभापित माननीय रवि लामिछानेको भनाइ पत्याउने ?  म सोध्न चाहन्छु । लोकप्रिय गायिका कुन्ती मोक्तानको गीतमा ‘गोठाला जाँदा लाएको माया खेताला जाँदा भुलेछ’ भने जस्तै जनकपुरमा बोलेको कुरा चितवन पुग्दा भुलेछ । यो राम्रो होइन । प्रधानमन्त्रीजीले त्यसबेला मधेशको नागरिक काठमाडौं आउने होइन, जनकपुरमै सबै काम गर्ने हो, काठमाडै त घुम्न जाने हो भनेर संघीतालाई बलियो बनाउने कुरा गर्नु भएको भुल्नु भएन ।

 सभामुख महोदय,

 सरकारको १०० दिन पुगेपछि मैले सोचेँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको भीड विदेशबाट फर्किएका युवाको स्वागत गर्न पुगेका आफन्तहरूको होला। किनकि कुनै बेला सरकार चलाएको १०० दिनमै विदेशबाट कम्तिमा सय युवालाई फर्काएर स्वदेशमै रोजगारी दिने बाचा सुनेको थिएँ । त्यसका लागि अस्ट्रेलिया, युरोप र अमेरिकाको गल्लीगल्लीमा स्टिकर टाँस्ने र युवाका लागि देश फर्क अभियान चलाउने र विदेशमा जति नै कमाइ हुनेगरी रोजगारी दिने भनिएको थियो । तर अहिले लाग्छ त्यो पनि भुल्नका लागि गरिएको बाचा थियो । र त विमानस्थलमा देखिएको भिड देश फर्काइएको युवाको होइन रहेछ विदेश पठाइएको युवाको रहेछ । यदि होइन भने विदेशबाट फर्काउने भनिएका कम्तिमा १०० युवा कुन विमानबाट आए ? कि ती हाम्रा युवाहरुलाई फर्काउने जहाज अझै रनवेबाट उड्नै सकेन ? म सरकारसँग जवाफ चाहन्छु ।

सभामुख महोदय,

संविधानको धारा ७६ (९) ले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्को संख्या बढीमा २५ जनामा सीमित गर्नु भनेको छ । तर सरकारले मन्त्रिपरिषद्को सङ्ख्या घटायो । घटाए पनि सचिवस्तरीय ५७ जना सल्लाहकार र स्वकीयसहित दुई सयभन्दा बढीको सदस्यीय सचिवालय बनाएर राज्यकोषमाथि थप भार थोपर्ने काम गरियो। मन्त्रालयको संख्या घटाएको भन्दै मितव्ययिताको प्रचार गरियो, तर सयौं राजनीतिक नियुक्ति गरेर कार्यकर्ता व्यवस्थापनलाई प्राथमिकता दिइयो।

सरकारप्रति प्रश्न छ- यदि प्रशासनिक संयन्त्र सक्षम छ भने यति ठूलो सल्लाहकारको फौज किन चाहियो ? यसबाट जनताले कस्तो अतिरिक्त सेवा पाए ? जनताको कर विकास, शिक्षा, स्वास्थ्य र रोजगारीमा खर्च हुनुपर्ने हो, राजनीतिक नियुक्तिको फौज पाल्न होइन। मन्त्रीको कुर्सी घटाएर सल्लाहकारको कुर्सी थप्नु मितव्ययिता होइन, खर्च लुकाउने उपाय मात्र हो। जनताको करमाथिको यो भद्दा मजाक हो ।

सभामुख महोदय,

वर्तमान सरकार पारदर्शिताको नारा दिएर सत्तामा पुगेको हो । तर सरकार पूर्णतः अपारदर्शी देखिएको छ। शेयर स्वामित्व लुकाएको आरोपपछि तत्कालीन गृहमन्त्रीले राजीनामा दिए। त्यसपछि गठित छानबिन समितिको प्रतिवेदन आजसम्म सार्वजनिक गरिएको छैन।

हामीले पटकपटक उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गर्‍यौं। तर सरकारले निरन्तर लुकाउने काम गरिरहेको छ। प्रतिवेदनमा के निष्कर्ष आयो, कसलाई जिम्मेवार ठहर गरियो र के कारबाही सिफारिस गरियो भन्ने विषय जनतासामु ल्याइएको छैन।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिनको माग गरेको थियो। तर सरकार सत्य बाहिर ल्याउनभन्दा विषयलाई ढाकछोप गर्नतर्फ उन्मुख देखियो। आफ्नै मन्त्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न नसक्ने सरकारको कार्यशैलीले सुशासन, पारदर्शिता, नैतिकता र जनविश्वासमाथि गम्भीर प्रश्न खडा गरेको छ।

सभामुख महोदय,

सरकारले प्रतिबद्धतापत्रमा पाँच वर्षभित्र बहुआयामिक गरिबी १० प्रतिशतमा झार्ने ठूलो घोषणा गरेको छ। तर बजेटले भने शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क थपेर जनताको ढाड सेक्ने काम गरेको छ। महँगी नियन्त्रण गर्ने कुनै प्रभावकारी योजना छैन, गरिबलाई राहत दिने कार्यक्रम छैन। अनि गरिबी कुन आधारमा घटाउने?

साना किसान, भूमिहीन र सिमान्त वर्गलाई अनुदान दिने प्रतिबद्धता गरिएको छ। तर बजेटमा २ करोड रुपैयाँ लगानी गर्ने किसानलाई ४० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको छ। सरकारले साना किसानलाई देखाउने र ठूला लगानीकर्तालाई सुविधा बाँड्ने नीति लिएको हो?

शिक्षा र स्वास्थ्यलाई क्रमशः निःशुल्क बनाउने प्रतिबद्धता गर्ने, तर त्यही क्षेत्रमा नयाँ शुल्क थप्ने; स्वास्थ्य बिमा सबैको पहुँचमा पुर्‍याउने भन्ने, तर आफ्नै अर्थमन्त्रीले स्वास्थ्य बिमा धान्न नसकिने अभिव्यक्ति दिने—यो सरकारको नीति हो कि विरोधाभास? प्रतिबद्धता एउटा, बजेट अर्को र मन्त्रीहरूको अभिव्यक्ति अर्कै। यही कारण यो सरकारको घोषणापत्र जनतालाई देखाउने कागज मात्र भएको छ, कार्यान्वयन गर्ने मार्गदर्शक होइन।

सभामुख महोदय,

गत वर्ष भदौ २३ र २४ गते भएका जेन–जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की आयोग र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन सरकारलाई बुझाइसकिएको छ। तर दुवै प्रतिवेदन सरकारले अहिलेसम्म दराजमै थन्क्याएर राखेको छ, सार्वजनिक गरेको छैन।

 म स्पष्ट रूपमा भन्न चाहन्छु– २३ गतेको नरसंहार र २४ गतेको विध्वंस दुवै घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याइनुपर्छ। मैले यसअघि पनि यही सदनमा भनेको थिएँ, २३ गतेको नरसंहारलाई देख्ने तर २४ गतेको विध्वंसलाई बेवास्ता गर्ने, वा २४ गतेको विध्वंसलाई देख्ने तर २३ गतेको नरसंहारलाई ओझेलमा पार्ने कुनै पनि प्रतिवेदन न्यायको आधार बन्न सक्दैन।

त्यसैले सरकारले दुवै प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ। विशेषगरी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गरी त्यसका आधारमा निष्पक्ष छानबिन, कानुनी कारबाही र कार्यान्वयन प्रक्रिया अघि बढाइनुपर्छ। सत्ता वा शक्तिको आडमा कसैले पनि उन्मुक्ति पाउनु हुँदैन।

सभामुख महोदय,

बीवाईडी गाडी प्रकरणले यो सरकारको वास्तविक अनुहार देखाइदिएको छ। अर्थमन्त्रीमाथि राजस्व दर परिवर्तनसम्बन्धी गोप्य सूचना चुहाएर निश्चित व्यापारीलाई फाइदा पुर्‍याएको गम्भीर आरोप लाग्यो। ७०० बढी बीवाईडी गाडी नियन्त्रणमा लिएको जस्तो गर्यो। र आरोप लागेपछि स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने थियो। तर सरकारले के गर्‍यो? आरोप लागेकै मन्त्रीले आफ्ना मन्त्रालयका कर्मचारीको नेतृत्वमा समिति बनाएर आफैंले चोख्याउने काम गर्‍यो।

के यही हो सुशासन?आफूले आफैँलाई निर्दोष घोषणा गर्ने हो भने जनताले कसरी विश्वास गर्ने? विगतमा यस्तै घटनामा “सुनपानी छर्केर चोख्याउने” भन्दै अरूमाथि आरोप लगाउने मन्त्रीजी आज आफैं त्यही अभ्यास दोहोर्याइरहेका छन्।

सुशासनको मापन भाषणबाट होइन, निष्पक्ष छानबिनबाट हुन्छ। सरकारसँग नैतिक साहस छ भने यस प्रकरणमा स्वतन्त्र न्यायिक वा उच्चस्तरीय छानबिन गराओस्। होइन भने सुशासनको नारा केवल जनतालाई झुक्याउने राजनीतिक नारामात्र भएको पुष्टि हुनेछ।

सभामुख महोदय,

सरकारले कृषि उत्पादन बढाउने, आयात घटाउने र आत्मनिर्भरता बढाउने कुरा गरेको छ। नीतिमा यी सबै कुरा राम्रो सुनिन्छन्। तर मध्य बर्खाको समयमा पनि किसानले मल पाएका छैनन्। सरकार भने मल पर्याप्त भएको बताउँछ । उसो भए किसान किन भौतारिइरहेका छन् ? म सरकारलाई सोध्न चाहन्छु ।

सभामुख महोदय,

हात्तीको आतंकले अहिलेसम्म २५ जनाको ज्यान लिइसकेको छ। एउटै परिवारका चारजनाले ज्यान गुमाउनुपरेको पीडादायी अवस्था छ। वर्षौंदेखि आतंक मच्चाइरहेको हात्ती नियन्त्रण गर्न सरकारले प्रभावकारी योजना ल्याउन सकेको छैन। स्थानीय बासिन्दा आफ्नै घर र खेतबारीमा असुरक्षित जीवन बिताउन बाध्य छन्। सरकारले राहत बाँडेर मात्र दायित्व पूरा हुँदैन। जङ्गली जनावरबाट नागरिकको जीवन र खेतीपातीको सुरक्षा गर्ने दीर्घकालीन नीति, प्रभावकारी उद्धार संयन्त्र र शीघ्र हस्तक्षेपको व्यवस्था तत्काल लागू गरियोस्। नागरिकको ज्यानको सुरक्षा गर्नु राज्यको पहिलो दायित्व हो।

सभामुख महोदय,

अन्त्यमा म यत्ति भन्न चाहन्छु- सरकारले सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधारको सूची र ती सूचीहरुको कार्यान्वयनको स्थिति हेर्दा हात्तीको देखाउने दाँत मात्र रहेछ भन्ने पुष्टि भयो। कागजमा सुधार, व्यवहारमा अपारदर्शिता, भाषणमा सुशासन, कार्यशैलीमा चयनात्मकता, प्रतिबद्धतामा लोकतन्त्र, अभ्यासमा एकल निर्णय । जनतालाई आशा देखाइयो तर परिणाम निराशाजनक आयो। फेरि पनि भन्छु- लोकतन्त्रमा सरकारको मूल्याङ्कन प्रचारपत्रले हुँदैन, जनताले गर्ने हुन् । यी सबै कुरा जनताले कालो डायरीमा टिपोट गर्दै होलान् । एकदिन जनताले निर्णय अवश्य गर्नेछन् । साराशंमा भन्नुपर्दा सरकारको १०० बुँदे शासकीय सुधारको दाबी हात्तीका देखाउने दाँतजस्तै अबण्डा मात्र रहेछन्।’

‘केप भर्डे’लाई स्वदेशमा यस्तो स्वागत

काठमाडाैं। विश्व फुटबलमा पहिलो पटक आफ्नो उपस्थिति दर्ज गराउँदै इतिहास रचेको केप भर्डे आइतबार उत्सवमय बनेको छ। विश्वकपको ३२औँ चरणमा स्थान बनाउन सफल भएको राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएपछि देशभर खुसीको लहर फैलिएको हो। सानो जनसंख्या भएको यो अफ्रिकी द्वीप राष्ट्रका लागि विश्वकपमा पुग्नु केवल खेलकुद उपलब्धि मात्र नभई राष्ट्रिय गौरवको विषय बनेको छ।

विश्वकपको यात्रा क्रममा साविकको विश्वच्याम्पियन अर्जेन्टिना तथा महान् फुटबलर लियोनेल मेस्सीको टोलीलाई अतिरिक्त समयसम्म कडा चुनौती दिएको केप भर्डेले विश्व फुटबल समुदायको ध्यान समेत आफूतर्फ तानेको थियो। अपेक्षाभन्दा धेरै उत्कृष्ट प्रदर्शन गरेपछि टोली स्वदेश फर्किँदा उनीहरूलाई नायकसरह सम्मान गरिएको छ।

केप भर्डेमा आइतबार स्वतन्त्रता दिवस पनि परेकाले राष्ट्रिय टोलीको स्वागत अझ विशेष बन्यो। स्वतन्त्रताको उत्सव र खेलकुदमा प्राप्त ऐतिहासिक सफलताको दोहोरो खुसीले देशभर पर्वको माहोल सिर्जना गर्‍यो। राजधानीदेखि विभिन्न सहरसम्म सडकमा हजारौँ नागरिक उत्रिएर राष्ट्रिय झण्डा फहराउँदै टोलीको स्वागत गरे।

झण्डै पाँच लाख जनसंख्या भएको केप भर्डे विश्वकपको अन्तिम ३२ टोलीमा स्थान बनाउने हालसम्मकै सबैभन्दा सानो जनसंख्या भएको राष्ट्र बनेको छ। सीमित स्रोतसाधन र पूर्वाधारका बाबजुद विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा स्थान बनाउनु आफैंमा असाधारण उपलब्धि मानिएको छ। यस सफलताले केप भर्डेको नाम विश्व खेलकुद इतिहासमा नयाँ रूपमा स्थापित गरेको छ।

फुटबल टोली मियामीबाट विशेष उडानमार्फत स्वदेश फर्किएको थियो। टोलीका गोलकिपर भोजिन्हाले विमानभित्रै सहयात्री तथा कर्मचारीसँग खुसी साटासाट गरेका दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएका छन्। विमान अवतरण हुनासाथ विमानस्थलमा हजारौँ समर्थकको भीड लागेको थियो। समर्थकहरूले खेलाडीहरूलाई फूल, राष्ट्रिय झण्डा र नारासहित स्वागत गरेका थिए।

विमानस्थलमा खेलाडीहरूले समर्थकहरूसँग भेटघाट गरे, सेल्फी खिचे र हस्ताक्षर वितरण गरे। त्यसपछि राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकहरूलाई खुला ट्रकमा राखेर राजधानीका मुख्य सडक हुँदै विजय परेड निकालिएको थियो। सडकका दुवैतर्फ सर्वसाधारणको बाक्लो उपस्थिति देखिन्थ्यो। कतै राष्ट्रिय झण्डा फहराइँदै थियो भने कतै ढोलक, बाजागाजा र सांस्कृतिक नृत्यमार्फत टोलीको सम्मान गरिएको थियो।

घाम लागेको दिउँसोभरि समर्थकहरूले गीत गाए, नाचे र आफ्नो टोलीप्रति गर्व व्यक्त गरे। धेरैले यो दिनलाई केप भर्डेको खेलकुद इतिहासकै सबैभन्दा गौरवपूर्ण क्षणका रूपमा चित्रण गरेका छन्। कतिपय वृद्ध समर्थकले यस्तो दिन देख्न पाउँदा जीवन सफल भएको प्रतिक्रिया दिएका थिए भने युवा पुस्ताले यो सफलताले नयाँ सपना देख्न प्रेरणा दिएको बताएका छन्।

टोलीका अनुभवी डिफेन्डर पिको लोपेसले समर्थकलाई सम्बोधन गर्दै यो सफलता सम्पूर्ण देशको भएको बताए। उनले भने, “केप भर्डेको लागि हामीले सबैथोक दियौं।” उनका अनुसार खेलाडीहरूले प्रत्येक खेलमा आफ्नो देशको प्रतिष्ठालाई पहिलो प्राथमिकतामा राखेर मैदानमा संघर्ष गरेका थिए।

यस वर्ष पहिलो पटक विश्वकप खेल्ने अवसर पाएको केप भर्डेले प्रतियोगिताभर साहसिक प्रदर्शन गरेको थियो। विशेषगरी अर्जेन्टिनाविरुद्धको खेलले विश्वभर चर्चा पायो। स्टार खेलाडीहरूले भरिएको टोलीविरुद्ध अतिरिक्त समयसम्म प्रतिस्पर्धात्मक प्रदर्शन गर्नु आफैंमा ठूलो उपलब्धिका रूपमा हेरिएको छ। यद्यपि टोली अन्ततः प्रतियोगिताबाट बाहिरिएको भए पनि उनीहरूको प्रदर्शनले समर्थक र फुटबल विश्लेषकबाट प्रशंसा बटुलेको छ।

यही समयमा केप भर्डेको पुरुष बास्केटबल टोलीले पनि अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ। विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गरेपछि देशमा खेलकुदप्रतिको उत्साह झन् बढेको छ। शनिबार महत्वपूर्ण खेलमा सफलता हात पारेको टोलीले आइतबार लिबियालाई पराजित गर्दै आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको थियो।

बास्केटबल टोलीका लागि पनि यो उपलब्धि विशेष मानिएको छ। सन् २०२३ मा पहिलो पटक फिबा विश्वकपमा सहभागी भएको केप भर्डे अहिले २०२७ को विश्वकपमा पुनः छनोट हुने लक्ष्यसहित अघि बढिरहेको छ। लगातारको प्रगतिले केप भर्डे अफ्रिकाको उदाउँदो खेल राष्ट्रका रूपमा स्थापित हुँदै गएको विश्लेषण गरिएको छ।

बास्केटबल टोलीका मुख्य प्रशिक्षक इमानुएल ट्रोभोडाले फुटबल टोलीको सफलताले सम्पूर्ण खेल समुदायलाई प्रेरित गरेको बताए। उनले भने, “भिभा केप भर्डे। यो ऐतिहासिक छ। यो महत्त्वपूर्ण छ। हाम्रो फुटबल टोली पार्टीको लागि देश फर्किएको छ।” उनका अनुसार विभिन्न खेलमा प्राप्त सफलताले देशका बालबालिका र युवामा खेलकुदप्रतिको आकर्षण बढाउने विश्वास गरिएको छ।

विश्लेषकहरूका अनुसार केप भर्डेको पछिल्लो सफलता योजनाबद्ध खेल विकास, विदेशमा व्यावसायिक रूपमा खेलिरहेका खेलाडीहरूको योगदान र राष्ट्रिय टोलीप्रतिको बलियो प्रतिबद्धताको परिणाम हो। सानो जनसंख्या भए पनि प्रतिभाको सही व्यवस्थापन, अनुशासित प्रशिक्षण र स्पष्ट रणनीतिका कारण केप भर्डेले अन्तर्राष्ट्रिय मञ्चमा आफूलाई प्रतिस्पर्धी टोलीका रूपमा स्थापित गर्न सफल भएको छ।

विश्वकपमा पहिलो सहभागिता, अर्जेन्टिनाजस्तो बलियो टोलीविरुद्धको प्रभावशाली प्रदर्शन र त्यससँगै बास्केटबलमा प्राप्त अर्को उपलब्धिले केप भर्डेका लागि यो वर्ष अविस्मरणीय बनेको छ। स्वतन्त्रता दिवसकै अवसरमा दुई राष्ट्रिय टोलीले देशलाई दिएको सफलताले नागरिकमा नयाँ आशा, आत्मविश्वास र राष्ट्रिय एकताको भावना थप बलियो बनाएको छ। अहिले केप भर्डेमा केवल खेलाडीहरूको विजयको उत्सव मात्र होइन, सानो देशले ठूलो सपना पूरा गर्न सक्छ भन्ने विश्वासको पनि उत्सव मनाइँदै छ।

सरकारलाई सभामुखको निर्देशन

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकमा सांसदहरूले आकस्मिक र शून्य समयमा उठाएका जनसरोकारका विषयलाई गम्भीर रूपमा लिन सरकारलाई निर्देशन दिएका छन्। उनले संसद्मा उठाइएका विषयमा सम्बन्धित मन्त्रालयमार्फत स्पष्ट र तथ्यपरक जवाफ उपलब्ध गराउन सरकारलाई आग्रह गर्दै जनप्रतिनिधिले उठाएका सवालको समयमै सम्बोधन हुनुपर्नेमा जोड दिए।

आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले विशेषगरी मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानको जोखिम बढ्दै गएको उल्लेख गर्दै विपद् व्यवस्थापनको तयारीबारे संसद्लाई जानकारी गराउन सरकारलाई निर्देशन दिए। उनले सम्भावित प्राकृतिक विपद्का कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न सरकारले गरेका पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापन, जोखिमयुक्त क्षेत्रको पहिचान, आवश्यक स्रोत–साधनको व्यवस्थापन र सम्बन्धित निकायबीचको समन्वयका विषयमा विस्तृत विवरण प्रस्तुत गर्न आग्रह गरे।

सभामुख अर्यालले भने, ‘देशका विभिन्न भागमा बाढी, पहिरो तथा डुबानका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण तथा विपद् व्यवस्थापन र पूर्वतयारीमा भए/गरेका कामकारबाहीका सम्बन्धमा समेत जानकारी गराउन सरकारलाई निर्देशन गर्दछु।’

उनले प्राकृतिक विपद्का बेला नागरिकको सुरक्षा सरकारको पहिलो दायित्व भएकाले सम्बन्धित निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा रहनुपर्ने आवश्यकता पनि औँल्याए। साथै, संसद्मा सांसदहरूले उठाएका विषय केवल छलफलमै सीमित नरही त्यसको कार्यान्वयन र प्रगतिको जानकारी पनि नियमित रूपमा संसद्लाई गराउनुपर्ने धारणा व्यक्त गरे।

सभामुखको निर्देशनसँगै सरकारले मनसुनजन्य विपद् व्यवस्थापनका लागि हालसम्म भएका तयारी, प्रभावित क्षेत्रका लागि गरिएको पूर्वतयारी तथा आगामी कार्ययोजनाबारे प्रतिनिधिसभालाई जानकारी गराउने अपेक्षा गरिएको छ।

विपक्षी दलको नेताले बोल्दा प्रधानमन्त्री उपस्थित हुनुपर्छ

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधिसभामा सम्बोधनका क्रममा प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिप्रति टिप्पणी गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्बेले लोकतान्त्रिक मुलुकहरूमा विपक्षी दलका नेताले संसद्मा सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित रहने संसदीय अभ्यास रहेको उल्लेख गरे।

उनले भने, ‘संसद्मा जब–जब विपक्षी दलका नेता बोल्छन्, लोकतान्त्रिक शासन व्यवस्था भएका देशहरूमा प्रधानमन्त्री अगाडिको बेन्चमा बसेर मुस्कुराउँदै आफ्नो उपस्थिति जनाउने अभ्यास हुन्छ।’

आङ्देम्बेले विपक्षी दलका नेताले उठाउने विषय सरकारका लागि आलोचनामात्र नभई नीति र कार्यसम्पादन सुधारका लागि मार्गनिर्देशनसमेत हुने भएकाले प्रधानमन्त्रीको उपस्थितिलाई महत्वपूर्ण मानिने बताए।

उनले आफूले सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री उपस्थित नहुने अनुमान पहिले नै गरेको उल्लेख गर्दै संसद्प्रति सरकारको जवाफदेहिता अझ सुदृढ हुनुपर्ने धारणा राखे।

आङ्देम्बेका अनुसार प्रधानमन्त्री संसद्मा उपस्थित भई विपक्षीका धारणा सुन्नु संसदीय लोकतन्त्रको महत्वपूर्ण अभ्यास हो। त्यसैले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित हुन निरन्तर स्मरण गराइरहनु विपक्षीको पनि दायित्व रहेको उनले बताए।

प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर आङ्देम्बेको उक्त टिप्पणी संसद्मा विशेष रूपमा चर्चामा आएको थियो।

अर्थतन्त्र तेस्रो त्रैमासमा ३.५१ प्रतिशतले बढ्यो

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा नेपालको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत पुगेको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार यो वृद्धि दोस्रो त्रैमासिकको तुलनामा ०.५८ प्रतिशत बिन्दुले बढी हो।

कार्यालयका अनुसार आधारभूत मूल्यमा गणना गरिएको त्रैमासिक कुल गार्हस्थ उत्पादन (जीडीपी) गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.५१ प्रतिशतले वृद्धि भएको हो। विद्युत् उत्पादन तथा वितरण, वित्तीय सेवा, निक्षेप संकलन र कर्जा प्रवाह, निर्जीवन बीमा, व्यापार तथा सेवा क्षेत्रको विस्तारले आर्थिक गतिविधिमा सुधार ल्याउँदै समग्र वृद्धिलाई टेवा दिएको कार्यालयले जनाएको छ।

प्रारम्भिक अनुमानअनुसार वर्गीकृत १८ औद्योगिक क्षेत्रमध्ये १६ क्षेत्रमा मूल्य अभिवृद्धि सकारात्मक रहेको छ। सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादन क्षेत्रमा भने नकारात्मक वृद्धि देखिएको छ।

कार्यालयका अनुसार तेस्रो त्रैमासमा निर्माण सामग्रीको आयात घट्नु, धान उत्पादनमा कमी आउनु तथा केही वस्तुको घरेलु उत्पादन कमजोर रहनुले समग्र आर्थिक वृद्धिलाई अपेक्षाअनुसार तीव्र हुन नदिएको हो।

औद्योगिक वर्गीकरणअनुसार सबैभन्दा उल्लेखनीय वृद्धि विद्युत् तथा ग्यास क्षेत्रमा भएको छ। यस क्षेत्रको वृद्धिदर २४.८८ प्रतिशत पुगेको छ।

यसपछि वित्तीय तथा बीमासम्बन्धी गतिविधिमा १०.२७ प्रतिशत, यातायात तथा भण्डारण क्षेत्रमा ७.८३ प्रतिशत तथा थोक तथा खुद्रा व्यापार क्षेत्रमा ५.२५ प्रतिशत वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ।

अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, समग्र आर्थिक संरचनामा यसको योगदान अघिल्लो अवधिको तुलनामा ०.०४ प्रतिशतले घटेको देखिएको कार्यालयले जनाएको छ।

अर्थतन्त्रको दोस्रो ठूलो हिस्सा ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्र २.०२ प्रतिशतले विस्तार भएको छ।

तेस्रो त्रैमासमा आवास तथा भोजन सेवा, बैंक तथा बीमा तथा औद्योगिक उत्पादन क्षेत्रमा क्रमशः २.३० प्रतिशत, १.०७ प्रतिशत र ०.८३ प्रतिशतले नकारात्मक वृद्धि देखिएको छ। अन्य अधिकांश औद्योगिक क्षेत्रको वृद्धि भने सामान्य अवस्थामा रहेको कार्यालयले जनाएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपालको अर्थतन्त्रको अनुमानित आकार ६४ खर्ब २७ अर्ब रुपैयाँ रहेको थियो। तेस्रो त्रैमासमा यो बढेर ६४ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको प्रारम्भिक अनुमान गरिएको छ।

कार्यालयका अनुसार दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा समग्र आर्थिक गतिविधि विस्तार हुँदै गएको संकेत देखिएको छ।

विद्युत् उत्पादन, वित्तीय सेवा र व्यापार क्षेत्रमा सुधार देखिए पनि कृषि तथा औद्योगिक उत्पादनमा अपेक्षित गति आउन नसक्दा आर्थिक वृद्धिदर मध्यम स्तरमै सीमित भएको विश्लेषण गरिएको छ।

‘सरकार ब्रेक-बिनाको गाडीजस्तै’ [भिडियो-वार्ता]

काठमाडाैं। राजनीतिक वृत्तमा अहिले सरकारका सय दिनको कामको चर्चा भइरहेको छ। नागरिक समाज, संचार माध्यम, अन्य विभिन्न सरोकारवाला निकाय र पक्षबाट भइरहेको सरकारको १०० दिने कार्यशैलीको विश्लेषणमा कतिपयले सरकारले सुधारको संकेत दिएको बताइरहेका छन् भने कतिपयले भने सरकार असफल भएको टिप्पणी गरिरहेका छन्।

गठन भएकै दिन १३ चैतमा सरकारले सय दिने सय कार्यसूची सार्वजनिक गरेको थियो। शनिबार सय दिने उपलब्धि सार्वजनिक गरेको सरकारले कार्यसूचीमा भएका ८७ प्रतिशत काम सुरु भएको दाबी गरेको छ। उपलब्धि सार्वजनिक कार्यक्रममा बोल्दै सरकारका प्रवक्ता सस्मिता पोखरेलले सुकुम्बासी समस्या समाधान, सहकारी पीडितलाई बचत फिर्ता, मेरिटोक्रेसीका आधारमा कर्मचारी नियुक्ति, ट्रेड युनियनको खारेजी, राहदानी-लाइसेन्स लगायतका सरकारी कागजातको होम डेलिभरी लगायत कामलाई प्रमुख उपलब्धिका रूपमा सार्वजनिक गर्यो।

यता विपक्षी कित्तामा रहेका राजनीतिक दलहरुले भने सय दिनमा सरकार पुरै असफल भएको दाबी गरिरहेका छन्। विशाल जनमत र ठूलो जन-अपेक्षासहित बनेको सरकारको पहिलो सय दिन कस्ता रहे? हामीले कांग्रेस नेता तथा पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य नरेन्द्र केरुङसँग भिडियो-वार्ता गरेका छौँ।

केरुङले सरकारले पहिलो सयदिनमा सय अङ्कमा पासमार्क ल्याउन सफल रहेको बताए। उनका अनुसार घोषणा ठूला भए तर जनताको जनजीवनसँग मेल खाने उपलब्धि सरकारले केही पनि देखाउन सकेन। 

केरुङले बालेन्द्र शाह नेतृत्वको सरकारको १०० दिने कार्यशैलीलाई ब्रेक बिग्रिएको गाडीसँग तुलना गरे। सरकारको १०० दिने समीक्षा गर्दै उनले ब्रेक नभएको गाडी सन्तुलित रूपमा चल्न नसक्ने र दुर्घटनाको जोखिममा रहने भन्दै वर्तमान सरकारको कार्यशैली पनि त्यस्तै देखिएको उनको दाबी छ।

उनले हतारमा अघि बढ्नुभन्दा परिणाममुखी काम आवश्यक रहेको उल्लेख गर्दै सरकारले गरेका राम्रा-नराम्रा कामको यथार्थ मूल्याङ्कन गर्ने समय आएको बताए। उनै केरुङसँग नेपालवान एचडीका लागि रामचन्द्र जोशीलेगरेको भिडियो-वार्ताको सम्पादित र संक्षिप्त अंश:

सरकारले गठन भएको १०० दिन पूरा गरेको छ। सरकारका सय दिन कस्ता रहे?

सरकार पास हुन सफल भएको छ। हामीले १०० नम्बर पूर्णाङ्कको परीक्षा दिँदा ३२ उत्तीर्णाङ्क हुन्थ्यो। यो सरकारले पनि ३२ नम्बर ल्यायो।सरकारले सुरुदेखि नै आवश्यक परिपक्वता देखाउनुपर्ने थियो। सरकारले ल्याएका नीति, कार्यक्रम र बजेटमा धेरै राम्रा कुरा लेखिएका छन्। १०० दिने कार्यसूचीमा पनि धेरै आकर्षक घोषणा छन्। 

तर, घोषणा गरेर मात्रै हुँदैन। नीति लेखेर मात्रै परिणाम आउँदैन। माइकअगाडि उभिएर आश्वासन दिन सजिलो हुन्छ, तर त्यसलाई व्यवहारमा उतार्न सक्नुपर्छ।नेपाली कांग्रेस संसदीय पद्धतिमा विश्वास गर्ने पार्टी भएको नाताले सरकार गठन भएको पहिलो १०० दिन, अर्थात् तीन महिना १० दिनसम्म हामीले अत्यन्त धैर्यता र संयमताका साथ सरकारका काम-कारबाहीलाई नियाल्यौँ। 

सरकारका राम्रा र नराम्रा दुवै पक्षलाई हामीले ध्यानपूर्वक हेरेका छौँ।संसदीय पद्धतिमा कुनै पनि सरकारले गरेका काम परिपक्व हुन केही समय लाग्छ भन्ने हाम्रो मान्यता हो। त्यसैले हामीले पहिलो १०० दिनसम्म सरकारलाई पर्याप्त समय दियौँ। अब भने सरकारका कामको समीक्षा र विश्लेषण गर्ने समय आएको छ।

यदि एक वाक्यमा भन्नुपर्दा, बालेन्द्र शाहको नेतृत्वमा बनेको यो सरकार नेपालको इतिहासमा लामो समयपछि बनेको शक्तिशाली सरकार हो। यस्तो शक्तिशाली सरकारप्रति जनतामा ठूलो आशा र अपेक्षा थियो। दुईतिहाइ नजिकको समर्थन भएको सरकार भएकाले जनताले यसबाट धेरै अपेक्षा गरेका थिए।

तर, सरकारको कार्यशैली हेर्दा अहिले आशा भन्दा बढी आशंका पैदा भएको छ। कतिपय क्षेत्रमा आतंकको वातावरणसमेत सिर्जना भएको अनुभूति भइरहेको छ। त्यसैले म भन्न चाहन्छु-बालेन सरकारको १०० दिनआशा, आशंका र आतंकको बीचमा गुज्रियो।

प्रधानमन्त्रीले भन्नुभएको छ, ‘यो एक्सप्रेस वे मा हिँडेको सरकार हो, रोकिँदैन। खोला जस्तै सीधा बगिरहन्छ।’ सरकार अहिले त्यस्तै गरी चलिरहेको छ ?

हाम्रो एउटा उखान छ नि त, ‘ढिलो गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न।’

ब्रेक बिग्रिएको गाडी जसरी अगाडि बढ्छ, त्यो सन्तुलित रूपमा चल्दैन। त्यस्तो गाडीमा यात्रा गर्ने यात्रुहरू पनि सधैँ त्रसित हुन्छन्। अहिले सरकारको १०० दिने कार्यसूची पनि त्यस्तै अवस्थाबाट गुज्रिरहेको देखिन्छ। 

एक्स-प्रेस-वे मा कुदिरहेको तर ब्रेक नभएको गाडी जस्तै अवस्था छ। कहिले कहाँ ठोक्किने हो भन्ने निश्चित छैन। गन्तव्यमा सुरक्षित पुग्छ कि पुग्दैन भन्नेमा पनि आशंका छ। ब्रेक विहीन भएर हिँडेको गाडिले भित्ता पनि हान्छ, छेउ पनि हान्छ। छिटो गयो भनेर मात्रै राम्रो हुँदैन। 

तर, ब्रेकबिनाको तीव्र गतिमा दौडिएको गाडी दुर्घटनामा पर्न सक्छ। अहिले सरकारको कार्यशैली त्यही जोखिमतर्फ उन्मुख देखिन्छ।

हेर्नुहोस्, अहिले दोस्रो अधिवेशनदेखि सरकारले अध्यादेशमार्फत मुलुक सञ्चालन गर्ने प्रवृत्ति देखायो। अध्यादेश जारी भएपछि विभिन्न संवैधानिक तथा सार्वजनिक निकायमा भएका नियुक्ति प्रक्रियाले धेरै प्रश्न उठाएका छन्। 

करिब १,५०० भन्दा बढी विभिन्न प्रतिष्ठान, संस्था तथा निकायका पदाधिकारी नियुक्त गर्ने प्रक्रिया, सर्वोच्च अदालतसँग सम्बन्धित नियुक्तिका विषय, विश्वविद्यालयहरूमा उपकुलपति तथा अन्य पदाधिकारी नियुक्त गर्ने प्रक्रिया, साथै संविधान, कानुन, विधि र स्थापित परम्परासँग सम्बन्धित अन्य निर्णयहरू हेर्दा सरकारले अपनाएको शैलीप्रति गम्भीर प्रश्न उठेको छ। 

सरकारले मेरिटोक्रेसी लागू गर्ने कुरा बारम्बार भन्यो। 

तर, मेरिटोक्रेसी भनेको भाषणमा मात्रै भन्ने कुरा होइन। योग्यताका आधारमा नियुक्ति गर्ने हो भने त्यो व्यवहारमा देखिनुपर्छ। अहिले नियुक्ति प्रक्रियामा योग्यताको भन्दा पनि आफ्ना निकट व्यक्ति, आफ्नै समूह वा आफूलाई अनुकूल व्यक्तिलाई प्राथमिकता दिएको जस्तो देखिएको छ। 

राज्य सञ्चालन परिपक्व ढङ्गले हुनुपर्छ। कुनै व्यक्तिको व्यक्तिगत धारणा वा मनोवृत्तिका आधारमा राज्य सञ्चालन हुनु हुँदैन। सरकार सञ्चालनका आफ्नै मापदण्ड, प्रक्रिया र कानुनी आधार हुन्छन्। ती आधारलाई बेवास्ता गरेर अघि बढ्दा राज्यका संस्थामाथिको विश्वास कमजोर हुन्छ।

सरकारले कार्यसूचीमा भएका मध्ये ८७ प्रतिशत काम सम्पन्न भएको दाबी गरेको छ। तपाईं कति सन्तुष्ट हुनुहुन्छ ? 

सरकारले धन्न ८७ भनेछ । १३ प्रतिशत चाहिँ किन घटाएछ? हामीले त १०० प्रतिशत नै सक्यौँ भन्नुपर्ने हो। 

तर, त्यो प्रतिशत कसरी निर्धारण गरियो? त्यसको मापन कसरी गरियो? कुन सूचकका आधारमा गरियो? त्यसको स्पष्ट आधार देखिँदैन। हामीले सरकारको कार्यशैलीलाई परिणामका आधारमा मूल्याङ्कन गर्नुपर्छ। 

तर सरकारले १०० दिने कार्यसूचीमा उल्लेख गरेका धेरै विषयवस्तु अघिल्ला सरकारले सुरु गरिसकेका कार्यक्रम हुन्। ती कार्यक्रमलाई नयाँ आवरणमा प्रस्तुत गरेर नयाँ उपलब्धि जस्तो देखाउने प्रयास गरिएको छ।

मैले विशेष रूपमा अर्थ मन्त्रालयसँग सम्बन्धित सबै बुँदाको अध्ययन गरेको छु। नेपाली कांग्रेसको संसदीय दलले दिएको जिम्मेवारीअनुसार सरकारले सार्वजनिक गरेका सबै विषयवस्तुको अक्षरशः अध्ययन गरेको छु। त्यसपछि नै म यो निष्कर्षमा पुगेको छु। सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याएको दाबी गरिरहेको छ। मध्यम वर्गलाई संरक्षण गर्ने, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कुरा पनि गरिएको छ।

तर, व्यवहारमा के भइरहेको छ?सरकारलाई मन नपरेका व्यक्ति सबैलाई बिचौलिया भनेर चित्रित गर्ने काम भइरहेको छ। कसैमाथि शंका लाग्यो भने तुरुन्तै पक्राउ गर्ने, अनुसन्धान गर्ने, सार्वजनिक रूपमा दोषीझैँ प्रस्तुत गर्ने प्रवृत्ति बढेको देखिन्छ।

कानुनको शासन भनेको प्रक्रिया हो। कानुनअनुसार प्रमाण, मापदण्ड र सूचकका आधारमा कारबाही हुनुपर्छ। सबैलाई एउटै दृष्टिले हेरेर आतंकित बनाउने काम सरकारले गर्नु हुँदैन।सरकारका १०० दिनका कार्यसूचीलाई मैले मापदण्ड र सूचकका आधारमा अध्ययन गरेको छु। त्यसका आधारमा हेर्दा प्रचार धेरै र उपलब्धि अपेक्षाभन्दा कम देखिन्छ।

सरकार परिवर्तन भयो, नयाँ नेतृत्व आयो। नयाँ अनुहार, नयाँ मन्त्री, नयाँ प्रधानमन्त्री, नयाँ अर्थमन्त्री आए। त्यसअनुसार बजेटमा पनि नयाँपन देखिनुपर्थ्यो भन्ने अपेक्षा थियो। तपाईंले यो सरकारको पहिलो बजेटमा के के नयाँपन भेटाउनुभयो?

नयाँ प्रधानमन्त्री, नयाँ मन्त्री, युवा नेतृत्व हुनु राम्रो कुरा हो। तर त्यो परिवर्तन जनताको जीवनमा देखिनुपर्छ।

पंचायती व्यवस्थाको अन्तिम अन्तिममा राजा विरेन्द्रले एउटा कार्यक्रम ल्याए। त्यतिखेर प्रजातन्त्र पुनर्बहाली गर्न आन्दोलन भइरहेको थियो। आन्दोलन चलिराखेको बेलामा जनताको दिमाखलाई डाइभर्ट गर्न विरेन्द्रले २०५७ सालसम्म मुलुकलाई एसियाली मापदण्डमा पुर्याउने भनेका थिए।

तर, ०४३ सालमा त्यो घोषणा भयो। ०४५ सालको अन्तिमतिर आन्दोलन मच्चियो। र, ०४६ सालमा प्रजातन्त्रको प्राप्ति भयो।उहाँहरूले एउटा कुरा गर्नुभएको छ। एक वर्षमा १० लाखसम्म आम्दानी गर्ने नागरिकले कर तिर्नु नपर्ने। अर्थात्, वार्षिक १० लाख आम्दानी गर्नेलाई चाहिँ उहाँले मध्यम वर्गको रूपमा वर्गीकृत गर्नुभएको छ।

तर, उहाँले गर्नुपर्ने कुरा के भने १० लाखसम्म आम्दानी गर्ने नागरिक चाहिँ कति छन् भनेर तथ्याङ्क संकलन गर्ने। सामान्यतया अधिकृत तहभन्दा माथिको नागरिकले मात्रै १० लाख आम्दानी गर्छ। उहाँहरूले बजेटको केन्द्रमा १० लाखमाथि कमाई गर्ने मान्छेलाई राख्नुभएको छ। त्यो भनेको व्यापारी, सचिव-उपसचिव स्तरका कर्मचारी। 

आज पनि यो देशका ६० प्रतिशतभन्दा बढी नागरिक गरिबीको रेखामुनि छन्।  ग्रामीण किसान, भूमिहीन, सुकुम्बासी, श्रमिक र विपन्न वर्गको अवस्था उस्तै छ। बजेटले यी वर्गलाई केन्द्रमा राख्नुपर्थ्यो। मध्यम वर्ग विस्तार गर्ने कुरा गरिएको छ। वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी हुनेलाई कर छुट दिने व्यवस्था पनि सकारात्मक हो।

तर त्यसले वास्तविक गरिब किसानलाई कति राहत दिन्छ?आज किसानले उत्पादन गरेको गोलभेँडाको मूल्य पाँच रुपैयाँ पनि पाउँदैन। दूधको उचित मूल्य नपाएर किसानले दूध सडकमा पोख्नुपर्ने अवस्था छ। यी समस्या समाधानतर्फ बजेटले पर्याप्त ध्यान दिएको देखिँदैन। बजेटका केही सकारात्मक पक्ष भए पनि समग्र रूपमा हेर्दा यसले ग्रामीण गरिब, किसान, भूमिहीन र सुकुम्बासीको वास्तविक समस्यालाई सम्बोधन गर्न सकेको छैन।

संसदबाट विधेयक धमाधम पारित भइरहेका छन्। सरकारले संसद्मा विभिन्न विधेयक दर्ता गरिरहेको छ। अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पनि ल्याइएका छन्।संसद राम्रै चलिरहेको छ?

राज्य सञ्चालनका लागि आवश्यक कानुन निर्माण गर्नु सरकारको प्रमुख दायित्व हो। संसद्मा अहिले विभिन्न विधेयक प्रस्तुत भइरहेका छन्। तीमध्ये केही विधेयक वर्तमान सरकारले तयार पारेका हुन् भने धेरै विधेयक अघिल्लो सरकारले नै मस्यौदा तयार गरी दर्ता गरिसकेका थिए।कतिपय अध्यादेशलाई प्रतिस्थापन गर्ने उद्देश्यले पनि विधेयक ल्याइएका छन्। ती विषयमा संसद्मा व्यापक छलफल भइरहेको छ। 

लोकतान्त्रिक व्यवस्थामा कानुन निर्माणको प्रक्रिया छलफल, बहस र सहमतिका आधारमा अघि बढ्नुपर्छ। त्यस दृष्टिले संसद्ले आफ्नो भूमिका निर्वाह गरिरहेको छ।तर सरकारको समग्र कार्यशैली हेर्दा संसद्लाई पर्याप्त प्राथमिकता दिएको जस्तो देखिँदैन। संसद्लाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने, सांसदका सुझावलाई गम्भीरतापूर्वक ग्रहण गर्ने र सहमतिका आधारमा निर्णय गर्ने संस्कृतिको विकास हुनुपर्छ।

प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीबारे तपाईंको समग्र मूल्याङ्कन के छ?

प्रधानमन्त्रीको कार्यशैलीबारे अहिले नै अन्तिम निष्कर्ष निकाल्नु हतार हुन सक्छ। उहाँको नेतृत्व अझै परीक्षणकै चरणमा छ।

तर प्रधानमन्त्रीले राज्य सञ्चालन गर्दा व्यक्तिगत धारणा वा भावनाभन्दा संस्थागत प्रणालीलाई प्राथमिकता दिनुपर्छ। राज्य सञ्चालन संविधान, कानुन र लोकतान्त्रिक अभ्यासअनुसार हुनुपर्छ।

अहिले विभिन्न क्षेत्र निजामती प्रशासन, निजी क्षेत्र, उद्योग-व्यवसाय, शिक्षा क्षेत्र लगायतमा एक प्रकारको असहज वातावरण देखिएको छ। सरकारको काम भनेको नागरिकमा आत्मविश्वास पैदा गर्नु हो, भय सिर्जना गर्नु होइन। डिजिटल प्रणाली, अनलाइन सेवा, प्रशासनिक सुधारजस्ता विषयमा सरकारले जोड दिएको छ। ती प्रयास सकारात्मक हुन सक्छन्। तर यस्ता कामको वास्तविक सफलता प्रचारले होइन, नागरिकले सहज सेवा पाए कि पाएनन् भन्ने आधारमा मापन गरिनुपर्छ।

आज पनि धेरै काम अघिल्ला सरकारकै पालामा सुरु भएका प्रणालीको निरन्तरता हुन्। त्यसलाई पूर्ण रूपमा नयाँ उपलब्धिका रूपमा प्रस्तुत गर्नु उचित हुँदैन।हामी प्रतिपक्षका रूपमा सरकारका सकारात्मक कामको समर्थन गर्छौँ। 

तर कमजोरी देखिए त्यसको रचनात्मक आलोचना पनि गर्छौँ। लोकतन्त्रमा यही प्रतिपक्षको भूमिका हो।सरकारले जनताले राखेको ठूलो अपेक्षालाई व्यवहारमा रूपान्तरण गर्न सकेको छैन। घोषणा र उपलब्धिबीच अझै ठूलो अन्तर देखिन्छ।

हामी चाहन्छौँ- सरकार सफल होस्, देश सफल होस्, नागरिकले राहत पाऊन्। तर त्यसका लागि प्रचारभन्दा परिणाम, नाराभन्दा कार्यसम्पादन, र आश्वासनभन्दा व्यवहारमा देखिने उपलब्धि आवश्यक हुन्छ।

पूरा भिडियो:

सुकुम्बासीहरु नेपालमा जन्मिनु गैरकानुनी थिएन होला नि : आङ्देम्बे

काठमाडौं ।नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई सरकारले रातारात धपाएकाे भन्दै आपत्ति प्रकट गरेका छन् । उनले सरकारको सफलता डोजर चलाउने क्षमताबाट नभई नागरिकको जीवन कति सुरक्षित बनायो भन्ने आधारमा मापन हुने बताएका छन्।

‘हामी सरकार सफल होस् भन्ने चाहन्छौँ, किनभने सरकार सफल हुँदा सफल हुने नेपाली जनता हुन्,’ उनले भने ‘नेपाली जनताको जीवनमा परिवर्तन आउने हुन्। तर सरकारको सफलता उसले कति डोजर चलायो भन्नेबाट होइन, नागरिकको जीवन कति सुरक्षित बनायो भन्नेबाट मापन हुन्छ।’

उनले कुनै नागरिकको बसोबास गैरकानुनी हुन सक्ने भए पनि उसको अस्तित्व र मानवीय अधिकार गैरकानुनी नहुने तर्क गर्दै सरकारको दृष्टिकोणमाथि प्रश्न उठाए।

‘कुनै पनि नागरिकको बसोबास गैरकानुनी थियो होला। तर उसको जन्म त गैरकानुनी थिएन होला नि। जन्म दिने आमाको गर्भ त गैरकानुनी थिएन होला नि। ऊ नेपाली भूमिमा जन्मिनु पनि गैरकानुनी थिएन होला नि,’ उनले भने।

आङ्देम्बेले सुकुम्बासी समस्याको समाधान व्यवहारमुखी र दीगो ढंगबाट खोजिनुपर्नेमा जोड दिए। वैकल्पिक व्यवस्थाविना वर्षायामको मुखमा हजारौं परिवारलाई विस्थापित गर्नु राज्यको मानवीय संवेदनशीलतामाथि गम्भीर प्रश्न भएको उनको भनाइ थियो।

‘समाधानको नाममा हजारौँ सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकलाई वर्षायामको मुखमा वैकल्पिक व्यवस्थाविना विस्थापित गरियो। त्यो सरकारको मानवीय संवेदना शून्य भएको क्षण थियो,’ उनले भने।

सरकारले कुनै परिवारलाई हटाउनुअघि उनीहरूको वैकल्पिक बसोबास, वृद्धवृद्धा, अशक्त, गर्भवती महिला र साना बालबालिकाको अवस्थाबारे जिम्मेवारीपूर्वक सोच्नुपर्ने आङ्देम्बेको धारणा थियो।

‘एउटा परिवारलाई हटाउनुअघि कम्तीमा त्यो परिवार भोलिदेखि कहाँ बस्छ भन्ने राज्यले सोच्नुपर्दैन? वृद्ध, अशक्त, गर्भवती र साना बालबालिकाको अवस्थाबारे राज्यले विचार गर्नुपर्दैन? राज्य यति साह्रै संवेदनाहीन बन्न मिल्छ?’ उनले प्रश्न गरे।

सुकुम्बासी व्यवस्थापनको नाममा पहिले बस्तीबाट हटाएर आश्रयस्थलमा राख्ने र पछि त्यहाँबाट पनि रातारात हटाउने कार्य मानवीय र लोककल्याणकारी राज्यको अवधारणाविपरीत भएको उनको आरोप थियो।

आङ्देम्बेले राज्य सबै नागरिकको समान भएको उल्लेख गर्दै आर्थिक र सामाजिक रूपमा कमजोर वर्गमाथि मात्र कठोर व्यवहार गर्नु न्यायोचित नहुने बताए।

‘के यो देश ठूलाबडाको मात्रै हो? कालो चस्मा, कालै कोटऔपाइन्ट लगाएर कालै गाडीमा हुइँकिनेहरूको मात्रै हो? सुकुम्बासी, अव्यवस्थित बसोबासी, गरिब, किसान र मजदुरको चाहिँ यो देश होइन? यदि हो भने किन शक्तिहीन नागरिकमाथि अत्याचार गरिन्छ? के यो लोककल्याणकारी राज्यको चरित्रअनुकूल छ?’ उनले प्रश्न गरे।

जनताले पर बसेर भने- आममम…प्रधानमन्त्रीकाे त्यत्रो धेरै सुनको स्रोत के होला ?

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहकाे सुन र आफ्नाे पाखाेबारीबाट सम्पत्ति छानबिन थाल्न विपक्षी नेता भीष्मराज आङ्देम्बेले आग्रह गरेका छन् ।

प्रधानमन्त्री बालेनले विगत ३५ वर्षसम्म देशमा काम गर्ने वातावरण नभएको बताउँदै आएको स्मरण गर्दै उनले प्रधानमन्त्री बनेपछि भने सार्वजनिक भएको सम्पत्ति विवरणमा ठूलो परिमाणमा सुन र बैंक मौज्दात देखिएकाले त्यसको स्रोतबारे प्रश्न उठेकाे बताए ।

आङ्देम्बेले भने, ‘३५ वर्षसम्म देशमा काम गर्ने वातावरण भएन भन्नुभयो प्रधानमन्त्रीजी। तर प्रधानमन्त्री भएलगत्तै प्रधानमन्त्रीजीको सम्पत्तिमा झण्डै दुई सय तोला सुन देखियो। करोडभन्दा बढी बैंक मौज्दात देखियो। नेपाली कांग्रेसले तपाईंले किन सुन आर्जन गर्नुभयो भनेर सोध्दैन र खोज्दैन। तर सुन आर्जनको स्रोत के हो? त्यो सोध्ने त विपक्षीको उत्तरदायित्व हो। उत्तरदायित्व निर्वाह गर्छौँ, यसबाट हामी भाग्दैनौँ।’

उनले भ्रष्टाचार नियन्त्रणको सुरुवात विपक्षी वा सत्ता पक्ष छुट्याएर होइन, देशको कार्यकारी नेतृत्व र प्रमुख विपक्षीबाटै हुनुपर्ने प्रस्ताव गरे।

‘सम्पत्ति छानबिनको सुरुवात म विपक्षी नेता भीष्मराज आङ्देम्बे र प्रधानमन्त्री बालेन्द्र शाहबाट होस्। मेरो पाँचथरको उम्लाबुङ (नवमीडाँडा)स्थित तीनघरे, सिलौटी र फुङ्सिङको पाखोबारीको छानबिन होस्। प्रधानमन्त्रीजीको झण्डै २०० तोला सुनको पनि छानबिन होस्,’ उनले भने।

आङ्देम्बेले आफूले प्रधानमन्त्रीमाथि अनियमितताकाे आरोप नलगाएको स्पष्ट पार्दै सम्पत्तिको स्रोतबारे उठ्ने सार्वजनिक जिज्ञासाको जवाफ दिनु नेतृत्वको दायित्व भएको बताए।

‘मलाई पटक्कै विश्वास छैन कि प्रधानमन्त्रीजीले दायाँबायाँ गरेर सुन आर्जन गर्नुभयो। तर तपाईंलाई मत दिएका मतदाताले पनि सोधिरहेका छन्- आममम… त्यत्रो धेरै सुनको स्रोत के होला? कहाँबाट आयो होला? त्यसैले प्रधानमन्त्रीजी, छानबिन गरौँ,’ उनले भने।

उनले पूर्वप्रधानमन्त्री, पूर्वउच्च राजनीतिक पदाधिकारी तथा उच्च कर्मचारीको सम्पत्तिको समेत छानबिन गर्नुपर्ने धारणा राखे। तर त्यसको सुरुवात अरूबाट नभई वर्तमान प्रधानमन्त्री र प्रमुख विपक्षी नेताबाटै हुनुपर्नेमा जोड दिए।

‘पूर्वप्रधानमन्त्रीहरूको पनि सम्पत्तिको छानबिन गरौँ। अरू पूर्व उच्च पदस्थ राजनीतिक र कर्मचारीको पनि गरौँ। तर सुरुवात अरूबाट होइन, हामीबाटै गरौँ। प्रधानमन्त्रीजी, तयार हो? म तयार छु। छानबिन आफूमाथि नगर्ने, अरूमाथि मात्रै गर्ने भन्ने हुँदैन,’ उनले चुनौती दिए।

सरकारको सय दिनको समीक्षा गर्दै आङ्देम्बेले सुशासन र भ्रष्टाचार नियन्त्रणका नाराले मात्रै पुग्ने नभई सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नै सम्पत्तिको स्रोतबारे पनि पारदर्शी र जवाफदेही बन्नुपर्ने धारणा व्यक्त गरे।

‘खुट्टा सुल्टो, जुत्ता उल्टो लगाएर प्रधानमन्त्रीजी गन्तव्यमा पुगिँदैन’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहकाे कार्यशैलीमाथि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले व्यङ्ग्यात्मक टिप्पणी गर्दै लोकतान्त्रिक प्रक्रियाबाट सत्तामा पुगे पनि शासन सञ्चालनको शैली भने लोकतान्त्रिक मूल्य र मान्यताअनुकूल नरहेको आरोप लगाएका छन्।

प्रतिनिधिसभामा साेमबार सरकारको पहिलो सय दिनको समीक्षा गर्ने क्रममा आङ्देम्बेले प्रधानमन्त्रीले संवाद, सहमति र परामर्शभन्दा एकल निर्णयलाई प्राथमिकता दिएको टिप्पणी गरे।

राष्ट्रिय महत्वका विषयमा सबै पक्षसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा सरकारले त्यसको उल्टो बाटो रोजेको उनको भनाइ थियो।

आङ्देम्बेले भने, ‘स्मरण रहोस्- खुट्टा सुल्टो, जुत्ता उल्टो लगाएर गन्तव्यमा पुगिँदैन। लोकतान्त्रिक बाटो सुल्टो हो। सुल्टो बाटोबाट आएका प्रधानमन्त्रीजीले जुत्ता उल्टो लगाउन खोजेपछि निश्चित छ, सही गन्तव्यमा पुग्न सकिँदैन।’

उनले लोकतन्त्रको आधार संवाद, सहमति र असहमतिप्रतिको सम्मान भएको उल्लेख गर्दै सरकारको सय दिनको कार्यशैली भने त्यसको विपरीत देखिएको दाबी गरे।

‘लोकतन्त्र संवादबाट चल्छ, सहमतिबाट अघि बढ्छ र असहमतिलाई पनि सम्मान गर्छ। तर विगत सय दिनमा सरकारको कार्यशैली हेर्दा संवादभन्दा दूरी, सहकार्यभन्दा टकराव र परामर्शभन्दा एकल निर्णयलाई प्राथमिकता दिएको देखियो,’ आङ्देम्बेले भने ।

प्रधानमन्त्रीलाई लोकतान्त्रिक मूल्यअनुसार शासन सञ्चालन गर्न आग्रह गर्दै उनले सही गन्तव्यमा पुग्न गति मात्र पर्याप्त नहुने, सही बाटो पनि उत्तिकै आवश्यक हुने बताए।

‘गन्तव्यमा पुग्न सुल्टै बाटो हिँड्नुपर्छ। छिटो हिँडेर मात्रै पुगिँदैन, हिँड्ने बाटो सही हुनुपर्छ,’ उनले भने।

 

प्रधानमन्त्रीजी ! भाइरल हुन सजिलो छ, देश चलाउन गाह्रो छ : आङ्देम्बे

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई सामाजिक सञ्जालमा लोकप्रियता खोज्नुभन्दा राज्य सञ्चालनमा गम्भीर बन्न आग्रह गरेका छन्।

उनले लोकतन्त्रमा लोकप्रियता र उत्तरदायित्व फरक विषय भएको भन्दै प्रधानमन्त्रीले ‘भाइरल राजनीति’ त्याग्नुपर्ने धारणा राखे।

प्रतिनिधिसभामा सरकारको पहिलो सय दिनको समीक्षा गर्दै आङ्देम्बेले सामाजिक सञ्जालमा चर्चित हुनु मात्र सफल नेतृत्वको मापदण्ड नहुने बताए। उनले प्रधानमन्त्रीलाई लोकप्रियता र प्रसिद्धिबीचको भिन्नता बुझ्न पनि आग्रह गरे।

आङ्देम्बेले भने, ‘लोकतन्त्रमा लोकप्रिय हुनु र उत्तरदायी हुनु एउटै कुरा होइन। सँगै म स्मरण गराउन चाहन्छु-प्रख्यात हुनु र लोकप्रिय हुनु पनि एउटै होइन। अझै बुझ्नेगरी भन्नु पर्दा फेमस हुँदै गर्दा लोकप्रिय भएँ भनेर भ्रमपूर्ण जिन्दगी पनि हामी कटाइरहेका हुन्छौँ।’

उनले सामाजिक सञ्जालमा भाइरल हुनुभन्दा देश सञ्चालनको जिम्मेवारी धेरै कठिन हुने उल्लेख गर्दै प्रधानमन्त्रीलाई कार्यशैली परिवर्तन गर्न सुझाव दिए।

‘म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु-सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ तर देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर भएर कार्य गर्न गाह्रो छ। त्यसैले प्रधानमन्त्रीज्यू, तपाईंले भाइरल हुने बाटो त्याग्नुहोस्, बिर्सिदिनुहोस्। तपाईं देशको प्रधानमन्त्री भइसक्नुभएको छ,’ आङ्देम्बेले भने।

उनले प्रधानमन्त्रीलाई लोकप्रियताभन्दा सुशासन, उत्तरदायित्व र नीतिगत नेतृत्वमा केन्द्रित हुन आग्रह गर्दै मुलुकको नेतृत्व सावधानीपूर्वक गर्नुपर्ने बताए।

आङ्देम्बेले भने, ‘प्रधानमन्त्रीका रूपमा मुलुकलाई सही ढङ्गले ड्राइभ गर्नुहोस्। एक्सप्रेस वेमा नै ड्राइभ गर्नुहोस् तर निकै सम्हालिएर। दुर्घटनामा पर्दा तपाईं मात्रै होइन, सिङ्गो देश दुर्घटनामा पर्छ।’

सरकारको सय दिनको कार्यसम्पादनमाथि टिप्पणी गर्दै आङ्देम्बेले प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत छवि निर्माण गर्नुभन्दा संसद, संविधान र लोकतान्त्रिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए।

उनले मुलुकको नेतृत्व लोकप्रिय नाराभन्दा विवेकपूर्ण निर्णय, संस्थागत उत्तरदायित्व र गम्भीर शासनशैलीबाट सफल हुने धारणा व्यक्त गरे।

प्रधानमन्त्री बालेनलाई आङ्देम्बेकाे कटाक्ष- धुरी चढेपछि सिँडी भुल्नु हुँदैन

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदकाे अवमूल्यन गरेकाे भन्दै ‘धुरी चढेपछि सिँडी भुल्नु हुँदैन’ भन्दै कटाक्ष गरेका छन् ।

साेमबार प्रतिनिधिसभा बैठकमा सरकारकाे सय दिनको समीक्षा गर्दै आङ्देम्बेले प्रधानमन्त्री शाह संसदको विश्वासबाट सरकारको नेतृत्वमा पुगे पनि त्यसै संसदप्रति आवश्यक उत्तरदायित्व नदेखाएको आरोप लगाए।

उनले संसदलाई लोकतन्त्रको सर्वोच्च प्रतिनिधिमूलक संस्था भएको स्मरण गराउँदै प्रधानमन्त्रीले त्यसको गरिमा जोगाउनुपर्ने बताए।

आङ्देम्बेले भने, ‘विगत सय दिनमा प्रधानमन्त्रीज्यूको कार्यशैली हेरेपछि म प्रधानमन्त्रीज्यूलाई स्मरण गराउँछु कि धुरीमा चढेपछि सिँडी भुल्नु हुँदैन। तपाईं सत्ताको धुरी चढ्ने अनि तपाईंलाई धुरीमा पुर्‍याउने संसद बिर्सिने? संसदलाई अवमूल्यन गर्ने?’

उनले प्रधानमन्त्री संसदमा उपस्थित भएर जनप्रतिनिधिका प्रश्नको सामना गर्नुभन्दा सामाजिक सञ्जालमार्फत सन्देश प्रवाह गर्न बढी रुचि देखाएको आरोप पनि लगाए। संसदलाई बेवास्ता गर्ने प्रवृत्तिले संसदीय लोकतन्त्र कमजोर बन्ने उनको तर्क थियो।

आङ्देम्बेले प्रधानमन्त्रीसँग प्रश्न गर्दै भने, ‘यदि संसद नै तपाईंको प्राथमिकतामा पर्दैन भने संसदीय लोकतन्त्र कसरी बलियो हुन्छ? यदि प्रधानमन्त्री संसदमा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई बढी प्रभावकारी ठान्नुहुन्छ भने जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कसरी कायम रहन्छ?’

उनले संसद सरकार गठन गर्ने, सरकारलाई विश्वासको मत दिने र सरकारलाई निरन्तर जवाफदेही बनाउने संवैधानिक संस्था भएकाले त्यसलाई अवमूल्यन गर्ने कुनै पनि प्रवृत्ति लोकतान्त्रिक अभ्यासका लागि शुभ संकेत नभएको बताए।

सरकारको सय दिनको कार्यशैलीमाथि टिप्पणी गर्दै आङ्देम्बेले सत्ता प्राप्तिपछि संसदसँगको संवाद कमजोर बनाउने र संसदप्रतिको उत्तरदायित्वबाट टाढिने प्रवृत्तिले लोकतान्त्रिक मूल्य र संसदीय संस्कृतिमाथि प्रश्न उठाएको दाबी गरे।

सांसद केसीविरुद्ध बोल्नेलाई धुइँधुइँती खोज्दै प्रहरी

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद धर्म केसीविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिएपछि आफूविरुद्ध साइबर ब्युरोमा उजुरी परेको भन्दै लमजुङका युवा हरि पौडेलले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठाएका छन्।

पौडेलले सांसद केसीको गतिविधिको आलोचना गरेपछि आफूलाई पक्राउ गर्ने तयारी भइरहेको दाबी गरेका छन्। उनका अनुसार यस विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरिएको छ।

पौडेलले सरकार र जनप्रतिनिधिप्रति नागरिकको हैसियतले प्रश्न उठाउनु आफ्नो अधिकार भएको उल्लेख गर्दै त्यसकै कारण आफू कानुनी प्रक्रियामा तानिन लागेको गुनासो गरेका छन्।

‘जेनजी आन्दोलनको अगुवा र सचेत नागरिकका रूपमा मैले सरकार र सांसद धर्म केसीका गतिविधिबारे प्रश्न उठाएको थिएँ। तर, त्यसकै कारण मविरुद्ध साइबर ब्युरोमा उजुरी परेको छ,’ उनले भने।

उनले सरकार र निर्वाचित जनप्रतिनिधिको आलोचना वा खबरदारी गर्नु लोकतान्त्रिक अभ्यासको हिस्सा भएको उल्लेख गर्दै त्यसलाई अपराधका रूपमा लिन नहुने धारणा राखे।

‘के सरकारको समर्थन मात्रै गर्नुपर्ने हो ? प्रश्न उठाएकै कारण मुद्दा खेप्नुपर्ने र थुनिनुपर्ने हो ?’ उनले प्रश्न गरे।

पौडेलका अनुसार आफूलाई केही दिनयता प्रहरीले खोजिरहेको जानकारी प्राप्त भएको छ। आवश्यक परे कानुनी प्रक्रिया सामना गर्न तयार रहेको बताउँदै उनले लोकतान्त्रिक व्यवस्थामा फरक मत राख्न पाउने अधिकार सुरक्षित हुनुपर्ने धारणा व्यक्त गरे।

उनले सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गरेकै आधारमा नागरिकमाथि कारबाही हुने अवस्था आएको हो कि भन्ने चिन्ता पनि व्यक्त गरेका छन्।

पौडेलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको राजनीतिक अभियानमा आफूले विगतमा समर्थन गरेको स्मरण गर्दै अहिले त्यही नेतृत्वको सरकारबाट दबाब महसुस गरेको दाबी गरे।

यद्यपि, यस विषयमा साइबर ब्युरो वा सम्बन्धित सरकारी निकायले उजुरी, अनुसन्धान वा पक्राउ प्रक्रियाबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।

काम नगर्ने मन्त्री/मेयर सबैलाई थुन्छौं : पूर्वाधारमन्त्री सुनील लम्साल

काठमाडौं। पूर्वाधारमन्त्री सुनील लम्सालको सार्वजनिक अभिव्यक्ति फेरि चर्चामा आएको छ। तनहुँमा आयोजित एक कार्यक्रममा उनले जनताको काम नगर्ने प्रदेशमन्त्री र जिम्मेवार पदाधिकारीमाथि कानुनअनुसार कारबाही हुने चेतावनी दिएका छन्।

आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिका-५, दुलेगौँडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै लम्सालले जनप्रतिनिधि र सरकारी पदाधिकारी जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका हुन्।

उनले नागरिकको काममा बेवास्ता गर्ने, सेवाप्रवाहमा ढिलाइ गर्ने वा जनतालाई अपमानजनक व्यवहार गर्ने पदाधिकारीविरुद्ध सूचना दिन आग्रह गरे।

‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई जानकारी दिनुहोस्। आवश्यक कारबाही गर्छौं। प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने थुन्छौं हामी,’ उनले भने।

लम्सालले जनप्रतिनिधिको मुख्य दायित्व नागरिकलाई प्रभावकारी सेवा उपलब्ध गराउनु भएको उल्लेख गर्दै जिम्मेवारीबाट पन्छिन नहुने बताए।

उनका अनुसार स्थानीय तहका प्रमुख, प्रदेश सरकारका पदाधिकारी वा अन्य जिम्मेवार व्यक्तिले जनतालाई दुःख दिएको, काममा लापरबाही गरेको वा सेवामा अवरोध सिर्जना गरेको जानकारी भए सम्बन्धित निकायमा उजुरी गर्नुपर्नेछ।

उनले त्यस्ता विषयमा कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने पनि बताए।

यो पहिलो पटक भने होइन, लम्सालको अभिव्यक्ति विवादमा परेको। यसअघि उनले काम नगर्ने ठेकेदारहरूको ‘खुट्टा भाँच्ने’ भन्ने अभिव्यक्ति दिएका थिए, जसको सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म व्यापक आलोचना भएको थियो।

यसपटक पनि ‘काम नगर्ने मन्त्रीलाई थुन्छौं’ भन्ने उनको भनाइको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेको छ।

यद्यपि, कार्यक्रममा उनले समग्र रूपमा जनप्रतिनिधि र सार्वजनिक पदमा रहेका व्यक्तिहरूले नागरिकप्रति इमान्दार, उत्तरदायी र जवाफदेही भएर काम गर्नुपर्ने सन्देश दिएको सहभागीहरूले बताएका छन्।

विदेशीलाई सीईओ बनाउन चाहन्छ सरकार ?

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणीकरण गरेसँगै ‘वैकल्पिक विकास वित्त परिचालन ऐन, २०८३’ औपचारिक रूपमा कार्यान्वयनमा आएको छ।

ऐनले नेपालमा वैकल्पिक विकास वित्त परिचालनका लागि नयाँ कोष स्थापना गर्ने कानुनी आधार तयार गरेको भए पनि यसको एउटा व्यवस्थाले राजनीतिक, प्रशासनिक र आर्थिक वृत्तमा व्यापक बहस सिर्जना गरेको छ।

बहसको केन्द्रमा रहेको विषय  कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिसम्बन्धी व्यवस्था हो। ऐनमा योग्य नेपाली नागरिक उपलब्ध नभएको अवस्थामा गैरआवासीय नेपाली र अन्तिम विकल्पका रूपमा विदेशी नागरिकलाई पनि पहिलो कार्यकालका लागि सीईओ नियुक्त गर्न सकिने प्रावधान राखिएको छ।

सरकारको तर्कअनुसार अन्तर्राष्ट्रिय वित्त, परियोजना व्यवस्थापन तथा विकास वित्त परिचालनमा उच्च अनुभव भएका व्यक्तिलाई आवश्यक परे नियुक्त गर्न सकिने गरी यो व्यवस्था गरिएको हो।

तर यही व्यवस्थामाथि विभिन्न कोणबाट प्रश्न उठेका छन्। आलोचकहरूले नेपालमा सक्षम जनशक्ति हुँदाहुँदै विदेशीलाई नेतृत्व दिने कानुनी बाटो खोलिनु आवश्यक थियो वा थिएन भन्ने प्रश्न उठाएका छन्।

कतिपयले यस्तो व्यवस्था अन्तर्राष्ट्रिय दातृ निकाय तथा विदेशी विकास साझेदारको प्रभावसँग जोडेर समेत व्याख्या गरेका छन्। यद्यपि, सरकारले यसबारे औपचारिक रूपमा कुनै त्यस्तो स्वीकारोक्ति गरेको छैन।

यस प्रावधानलाई लिएर राष्ट्रपति रामचन्द्र पौडेलले पनि चासो देखाएको स्रोतहरूको दाबी छ। ऐन प्रमाणीकरण हुनुअघि केही दिन राष्ट्रपतिले सम्बन्धित अधिकारीसँग यसको उद्देश्यबारे जानकारी मागेको बताइन्छ।

समाचार स्रोतहरूका अनुसार अर्थ मन्त्रालयका उच्च अधिकारीहरूले विदेशी नागरिक सीईओ बने पनि कोषको अध्यक्ष अर्थ मन्त्रालयका सचिव रहने भएकाले नीतिगत निर्णय सरकारकै नियन्त्रणमा रहने व्याख्या गरेका थिए। त्यसपछि मात्रै ऐन प्रमाणीकरण प्रक्रिया अघि बढेको बताइन्छ।

यद्यपि, यसबारे राष्ट्रपतिको कार्यालय वा सरकारले औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेको छैन।

ऐनअनुसार सरकारले वैकल्पिक विकास वित्त परिचालनका लागि विशेष कोष स्थापना गर्नेछ।

यस कोषमा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष लगायतका संस्थागत लगानीकर्ताले लगानी गर्न सक्ने व्यवस्था गरिएको छ। साथै, कुनै निश्चित परियोजनासँग नजोडिएका विदेशी अनुदान तथा विभिन्न अन्तर्राष्ट्रिय स्रोतबाट प्राप्त रकम पनि यही कोषमार्फत परिचालन गर्ने योजना रहेको बताइएको छ।

त्यसैगरी जलवायु परिवर्तन, हरित ऊर्जा तथा वातावरण संरक्षणसँग सम्बन्धित अन्तर्राष्ट्रिय ‘ग्रीन फण्ड’ लगायतका स्रोतबाट प्राप्त वित्तीय सहायता पनि यही संयन्त्रमार्फत व्यवस्थापन गर्ने अवधारणा अघि सारिएको छ।

अर्थ मन्त्रालय स्रोतका अनुसार प्रारम्भिक चरणमा करिब एक खर्ब रुपैयाँ बराबरको कोष निर्माण गर्ने लक्ष्य राखिएको छ।

यो रकम परम्परागत सरकारी खर्चका लागि नभई व्यावसायिक प्रतिफल दिने परियोजनामा लगानी गर्ने अवधारणामा आधारित रहेको बताइएको छ। पूर्वाधार, ऊर्जा, उत्पादनमूलक उद्योग तथा अन्य रणनीतिक क्षेत्रमा लगानी गरी प्रतिफल आर्जन गर्ने उद्देश्य ऐनले लिएको मन्त्रालय स्रोतको दाबी छ।

सरकारका अनुसार यो कोष सञ्चालनमा आएपछि ठूला परियोजनामा सरकारी ग्यारेन्टी उपलब्ध गराउन सहज हुनेछ।

हाल ठूला परियोजनाको वित्तीय व्यवस्थापनका लागि धेरै बैंक मिलेर ‘कन्सोर्टियम’ बनाउनुपर्ने अवस्था रहेको छ। नयाँ कोषले त्यस्तो निर्भरता कम गर्दै दीर्घकालीन विकास परियोजनामा लगानी परिचालन गर्न सहयोग पुग्ने सरकारको विश्वास छ।

साथै, पछिल्ला वर्षहरूमा वैदेशिक सहुलियतपूर्ण ऋण र विकास सहायता घट्दै गएको सन्दर्भमा वैकल्पिक वित्तीय स्रोत परिचालन गर्न यो कानुनी व्यवस्था आवश्यक भएको तर्क पनि सरकारी अधिकारीहरूले गर्दै आएका छन्।

ऐनले विकास वित्त परिचालनका लागि नयाँ ढाँचा निर्माण गर्ने आधार तयार गरे पनि विदेशी नागरिकलाई सीईओ बन्न सक्ने व्यवस्था भने सार्वजनिक बहसको विषय बनेको छ।

समर्थकहरूले यसलाई अन्तर्राष्ट्रिय अनुभव र विशेषज्ञता भित्र्याउने अवसरका रूपमा व्याख्या गरेका छन् भने आलोचकहरूले राष्ट्रिय क्षमता, संस्थागत स्वायत्तता र नीति निर्माणमा बाह्य प्रभाव बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

यस ऐनको वास्तविक प्रभाव भने कोष गठन, नेतृत्व चयन र त्यसबाट सञ्चालन हुने परियोजनाको पारदर्शिता तथा परिणामले आगामी दिनमा स्पष्ट पार्नेछ।

कर्णालीमा जन्मिनु नै अभिशाप हो? – सांसद शाही

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको बस दुर्घटनापछि उद्धार कार्य प्रभावकारी हुन नसकेको भन्दै सरकारको तीव्र आलोचना गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले दुर्घटनापछि भीरमा अड्किएका यात्रुले लामो समयसम्म जीवन बचाइदिन आग्रह गरे पनि समयमै उद्धार नपाएको दाबी गरे। उनले उद्धारमा ढिलाइ हुँदा मानवीय क्षति बढेको भन्दै सरकारको संवेदनशीलतामाथि प्रश्न उठाए।

‘भीरमा अड्किएर उहाँहरूले जीवनको भीख मागिराख्नुभएको थियो। उहाँहरूको गुहारले नदी किनार थर्कियो। डाँको लगाउँदा-लगाउँदै स्वर सुक्यो, आशा सकियो तर उद्धार आएन। अन्ततः गाडी नदीमा डुब्यो र भीरमा अड्किएका मानिसहरूको ज्यान गयो,’ उनले संसद्मा भने।

शाहीले दुर्घटनाका बेला आकाशमा हेलिकप्टर देखिए पनि त्यो उद्धारका लागि प्रयोग नभएको दाबी गरे।

उनका अनुसार उक्त हेलिकप्टर मन्त्रीको आवतजावतका लागि प्रयोग भइरहेको थियो, जबकि दुर्घटनास्थलमा तत्काल हवाई उद्धार आवश्यक थियो।

‘त्यही बेला आकाशमा हेलिकप्टर देखियो। तर त्यो उद्धारका लागि थिएन, मन्त्रीज्यूको सवारीका लागि थियो,’ उनले भने।

उनले सरकारले चाहेको भए तत्काल हेलिकप्टर परिचालन गरेर घाइते र जोखिममा रहेका यात्रुको उद्धार गर्न सक्ने अवस्था रहेको दाबी गरे।

शाहीले दुर्घटनास्थलमा खटिएको उद्धार टोलीसँग पर्याप्त साधन-स्रोत नभएको पनि बताए।

‘उद्धार टोलीसँग आवश्यक उपकरण थिएन। हेलिकप्टर आकाशमा घुमिरहेको थियो, तर उद्धारका लागि एउटा हेलिकप्टरसमेत परिचालन गर्न सरकार सक्षम भएन,’ उनले आरोप लगाए।

उनले प्रदेश सरकारका नेताहरू भने राजनीतिक भागबण्डामा व्यस्त रहेको टिप्पणी पनि गरे।

संसद्मा भावुक हुँदै शाहीले कर्णालीका नागरिकले राज्यबाट समान व्यवहार नपाएको गुनासो गरे।

‘आज मन्त्रीहरू हेलिकप्टरमा सयर गरिरहेका छन्, तर कर्णालीमा नागरिक डुबिरहेका बेला उद्धार गर्न किन सकिएन? के कर्णालीका जनता यो देशका नागरिक हुन् कि होइनन्? कर्णालीमा जन्मिनु नै अभिशाप हो?’ उनले प्रश्न गरे।

उनले कर्णालीका नागरिकको जीवन र सुरक्षाको अधिकार सुनिश्चित गर्न सरकारको स्पष्ट जवाफ आवश्यक रहेको भन्दै सभामुखमार्फत संसद्को रुलिङको समेत माग गरे।

शाहीले दुर्गम क्षेत्रमा हुने विपद्का घटनामा उद्धार संयन्त्रलाई थप प्रभावकारी बनाउन, आवश्यक स्रोत–साधन उपलब्ध गराउन र हवाई उद्धारको पहुँच विस्तार गर्न सरकारलाई आग्रह गरे।

एकैपटक ४२ उपसचिवको सरुवा(सूचीसहित)

काठमाडौं । सरकारले प्रशासनिक नेतृत्वमा व्यापक हेरफेर गर्दै एकैपटक ४२ जना उपसचिवको सरुवा गरेको छ। गृह मन्त्रालयका अनुसार शुक्रबार बसेको सम्बन्धित निकायको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत ४२ जना उपसचिवको सरुवा गरिएको हो।

मन्त्रालयले प्रशासनिक कामकारबाहीलाई थप प्रभावकारी, चुस्त र सेवामुखी बनाउने उद्देश्यले नियमित प्रशासनिक प्रक्रिया अन्तर्गत सरुवा गरिएको जनाएको छ। सरुवापछि सम्बन्धित उपसचिवहरूलाई नयाँ जिम्मेवारी तोकिएको छ भने उनीहरूलाई तोकिएको कार्यालयमा यथाशीघ्र हाजिर हुन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

सरकारले समय–समयमा कर्मचारी व्यवस्थापन, कार्यसम्पादनको प्रभावकारिता तथा जनसेवा प्रवाहलाई व्यवस्थित बनाउन निजामती कर्मचारीहरूको सरुवा गर्दै आएको छ। यसपटकको निर्णयलाई पनि नियमित प्रशासनिक व्यवस्थापनको हिस्सा मानिएको छ।

गृह मन्त्रालयले सरुवा भएका उपसचिवहरूको नामावली तथा नयाँ पदस्थापनासम्बन्धी विवरण सम्बन्धित निकायमा पठाइसकेको जनाएको छ।

 

 

जापानलाई किन निशाना बनाउँदैछ चीन?

काठमाडौं। चीनले जासुसी, साइबर आक्रमण, समुद्री गतिविधि र आर्थिक दबाबलाई संयोजन गर्दै जापानमाथि रणनीतिक प्रभाव बढाउने प्रयास गरिरहेको दाबी गरिएको छ।

यसले जापानको राष्ट्रिय सुरक्षा, प्रविधि क्षेत्र तथा क्षेत्रीय शक्ति सन्तुलनमाथि चुनौती थपिएको विश्लेषण सार्वजनिक भएको छ।

युरोपियन टाइम्समा प्रकाशित एक विश्लेषणात्मक लेखअनुसार चीनले जापानको प्रतिरोध क्षमता तथा अमेरिका-जापान सुरक्षा साझेदारीको प्रभावकारिताको समेत परीक्षण गरिरहेको उल्लेख गरिएको छ।

रिपोर्टमा जापानका सेमिकन्डक्टर, रोबोटिक्स र अन्य उच्च प्रविधिसँग सम्बन्धित उद्योगहरू चिनियाँ गुप्तचर गतिविधिको प्रमुख लक्ष्य बनेको दाबी गरिएको हो।

साइबर घुसपैठ, संवेदनशील सूचना चोरी तथा उद्योगभित्र कार्यरत व्यक्तिलाई विभिन्न माध्यमबाट प्रभावित पारेर गोप्य सूचना सङ्कलन गर्ने प्रयास भइरहेको उल्लेख गरिएको छ। यस्ता गतिविधिले जापानको प्रविधिगत प्रतिस्पर्धात्मक क्षमता र औद्योगिक सुरक्षामा दीर्घकालीन असर पार्न सक्ने चेतावनी रिपोर्टमा दिइएको छ।

विश्लेषणमा जापानले प्रतिजासुसी (काउन्टर–इन्टेलिजेन्स) क्षमता विस्तार गर्नुपर्ने, शैक्षिक तथा अनुसन्धान साझेदारीमा सुरक्षा निगरानी कडा बनाउनुपर्ने र प्रविधि चोरी नियन्त्रणका लागि अमेरिका तथा युरोपेली संघसँग संयुक्त कार्य संयन्त्र स्थापना गर्नुपर्ने सुझाव दिइएको छ।

रिपोर्टमा चीनका तटरक्षक जहाज र माछा मार्ने डुङ्गा नियमित रूपमा सेनकाकु टापु आसपासको समुद्री क्षेत्रमा प्रवेश गरिरहेको उल्लेख गरिएको छ। जापानले प्रशासनिक नियन्त्रणमा राखेको यो टापुमाथि चीनले पनि दाबी गर्दै आएको छ।

विश्लेषणमा यस्ता गतिविधि तत्कालीन सैन्य टकरावभन्दा पनि दीर्घकालीन रूपमा जापानको सार्वभौम अधिकारमाथि दबाब सिर्जना गर्ने रणनीतिक प्रयासको हिस्सा भएको दाबी गरिएको छ।

यसको सामना गर्न जापानले समुद्री गस्ती, निगरानी प्रणाली तथा सहयोगी मुलुकसँगको संयुक्त सैन्य अभ्यासलाई अझ प्रभावकारी बनाउनुपर्ने सुझाव छ।

उक्त लेखमा तिब्बती आध्यात्मिक गुरु दलाई लामाका भतिजा खेदरुब थोन्डुपले चीनको रणनीति बहुआयामिक भएकाले त्यसको जवाफ पनि समन्वित हुनुपर्ने बताएका छन्।

उनका अनुसार जापानको सुरक्षा केवल एक देशको विषय नभई नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको संरक्षणसँग जोडिएको प्रश्न हो। त्यसैले चीनबाट उत्पन्न हुने सुरक्षा चुनौतीलाई कूटनीतिक, आर्थिक र सुरक्षा सहकार्यका माध्यमबाट सामूहिक रूपमा सम्बोधन गर्नुपर्ने उनको धारणा छ।

यसैबीच जापानले आफू पुनः सैन्यीकरण (रिमिलिटराइजेसन) गरिरहेको भन्ने चीन र रुसको आरोपलाई अस्वीकार गरेको छ।

क्योदो न्युजका अनुसार जापानका उपमुख्य क्याबिनेट सचिव मसानाओ ओजाकीले चीनको बढ्दो सैन्य गतिविधि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षाका लागि चिन्ताको विषय बनेको बताएका थिए। उनले रुसको युक्रेनविरुद्धको सैन्य अभियानको पनि आलोचना गर्दै दुवै मुलुकलाई आफ्नो नीति पुनर्विचार गर्न आग्रह गरेका थिए।

यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको भेटपछि जारी संयुक्त वक्तव्यमा जापानले तीव्र रूपमा सैन्य क्षमता विस्तार गरिरहेको र त्यसले क्षेत्रीय शान्तिमा जोखिम सिर्जना गरेको आरोप लगाइएको थियो।

जापान र चीनबीच ताइवानलाई लिएर पनि पछिल्लो समय तनाव बढ्दै गएको छ।

सन् २०२५ मा जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले ताइवानमाथि सम्भावित सैन्य आक्रमण भए त्यसको प्रभाव जापानको सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिन सक्ने संकेत दिएकी थिइन्।

त्यसयता दुवै देशबीच सुरक्षा तथा सामरिक विषयमा मतभेद थप चर्किँदै गएको अन्तर्राष्ट्रिय विश्लेषकहरूको भनाइ छ।

कांग्रेस फुट्यो ?

काठमाडौं। नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद नयाँ मोडमा पुगेको छ। पार्टी नेतृत्वसँग सहमति जुट्न नसकेपछि पूर्वसभापति शेरबहादुर देउवा निकट समूहले नयाँ राजनीतिक दल गठन गर्ने तयारी अघि बढाएको छ।

यस विषयमा औपचारिक निर्णय लिन सोमबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बैठक बोलाइएको छ। बैठकले राष्ट्रिय भेला आयोजना गर्ने तथा नयाँ पार्टी गठनको प्रक्रिया अघि बढाउने विषयमा निर्णय गर्न सक्ने बताइएको छ।

देउवा पक्षका नेता मीन विश्वकर्माका अनुसार बैठकमा आगामी रणनीति, संगठन निर्माणको प्रारम्भिक खाका तथा राष्ट्रिय भेलाको मिति निर्धारणबारे छलफल हुनेछ।

नयाँ दल गठनको तयारी भए पनि त्यसको नेतृत्व कसले गर्ने भन्ने विषयमा भने समूहभित्र अझै सहमति जुटिसकेको छैन।

स्रोतका अनुसार सम्भावित नेतृत्वबारे विभिन्न विकल्पमा छलफल भइरहे पनि कुनै अन्तिम निर्णय भएको छैन। त्यसैले सोमबारको बैठकलाई देउवा पक्षका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।

उता सभापति गगन थापाको नेतृत्वमा रहेको पक्षले भने पार्टी विभाजनभन्दा एकतामै जोड दिएको छ।

उक्त समूहले १५औँ महाधिवेशनलाई एकतामूलक ढंगले सम्पन्न गराउने प्रयास जारी रहेको बताउँदै संगठनलाई समेट्ने नीति अपनाइने जनाएको छ। तर पुरानो केन्द्रीय समितिलाई जस्ताको तस्तै समायोजन गर्न नसकिने अडान भने कायम राखिएको छ।

नेतृत्व पक्षले संगठनात्मक पुनर्संरचना र महाधिवेशन प्रक्रियालाई संस्थागत ढंगले अघि बढाउने तयारीमा रहेको जनाएको छ।

नयाँ पार्टी गठनको विषयमा देउवा समूहभित्र पनि पूर्ण सहमति देखिएको छैन।

समूहका केही नेताले नेपाली कांग्रेसको रुख चुनाव चिह्न र चारतारे झण्डा नछाड्ने अडान लिँदै पार्टीभित्रै रहेर राजनीतिक संघर्ष जारी राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।

यसले देउवा पक्षभित्र पनि आगामी रणनीतिलाई लिएर फरक-फरक दृष्टिकोण रहेको संकेत गरेको छ।

अब सोमबार बस्ने बैठकले नयाँ दल गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढाउने वा पार्टीभित्रै समाधान खोज्ने भन्ने विषयमा महत्वपूर्ण दिशा तय गर्ने अपेक्षा गरिएको छ।

सरकारका १०० दिन : अलपत्र सुकुम्बासी

काठमाडाैं। सरकारले सार्वजनिक गरेको ‘शासकीय सुधारका १०० कार्यसूची’मा सामाजिक न्याय, व्यवस्थित सहरी विकास र नागरिकमैत्री सार्वजनिक सेवालाई महत्वपूर्ण प्राथमिकताका रूपमा प्रस्तुत गरेको थियो । विशेषगरी भूमिहीन सुकुम्बासीको समस्या समाधान, सार्वजनिक जग्गाको संरक्षण र महिलाको सुरक्षित सार्वजनिक यातायात सुनिश्चित गर्ने प्रतिबद्धता सरकारले व्यक्त गरेको थियो। 

कार्यसूचीको सूची नम्बर ९१ मा सरकारले एक हजार दिनभित्र भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको थियो। यो विषय विगत धेरै सरकारका साझा एजेन्डामध्ये एक हो। दशकौँदेखि सार्वजनिक तथा ऐलानी जग्गामा बसोबास गर्दै आएका हजारौँ परिवारको व्यवस्थापन राज्यका लागि जटिल सामाजिक र राजनीतिक चुनौती रहँदै आएको छ।

तर सरकार गठनको दिन मै विभिन्न स्थानमा डोजर प्रयोग गरेर बस्ती हटाउने अभियान सञ्चालन गरियो। सरकारले संचालन गरेको डोजर अभियानले भूमिहीन सुकुमवासी विस्थापित मात्रै भएनन्, ६ जनाले आत्महत्या समेत गर्न बने। वर्षायाम सुरु हुनुअघि नै भएको विस्थापनले सरकारले व्यवस्थापनभन्दा हटाउने कार्यलाई प्राथमिकता दिएको आरोप लाग्यो।

सरकारको तर्क सार्वजनिक जग्गाको संरक्षण र अदालतका आदेश कार्यान्वयनसँग जोडिएको छ। तर वैकल्पिक आवास, रोजगारी, शिक्षा र आधारभूत सेवाको सुनिश्चितता नगरी गरिएको विस्थापनले प्रभावित परिवारलाई थप संकटमा पुर्‍याएको छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दैनिक ज्यालादारीमा निर्भर परिवार सबैभन्दा बढी प्रभावित भएका छन्।

केही स्थानमा अस्थायी होल्डिङ सेन्टरमा राखिएका परिवारलाई सीमित आर्थिक सहायता दिएर अन्यत्र बसोबासको व्यवस्था आफैँ गर्न भनिएको छ। 

कार्यसूचीको सूची नम्बर ९२ मा सार्वजनिक जग्गामा निर्माण भएका संरचना हटाउने उल्लेख गरिएको छ। सार्वजनिक सम्पत्ति संरक्षण कुनै पनि सरकारको संवैधानिक दायित्व हो। नदी किनार, सडक क्षेत्र, खुला स्थान र सरकारी जग्गा अतिक्रमण हटाउने अभियानलाई धेरैले आवश्यक कदमका रूपमा हेर्छन्।

तर यही अभियानका क्रममा सरकारमाथि दोहोरो मापदण्ड अपनाएको आरोप पनि लागेको छ। सार्वजनिक जग्गामा बनेका केही प्रभावशाली व्यक्तिका संरचनामाथि कारबाही नहुने तर गरिब र सुकुम्बासीका बस्तीमा तत्काल डोजर चलाइने गरेको भन्दै आलोचना भइरहेको छ।

सार्वजनिक जग्गा संरक्षणको अभियान सफल हुन सबै नागरिक र सबै वर्गमाथि समान कानुनी मापदण्ड लागू हुनुपर्छ। यदि कारबाही छनोटका आधारमा भयो भने त्यसले कानुनको शासनभन्दा राजनीतिक प्रभावलाई बलियो बनाउछ।

सरकारको १०० कार्यसूचीको सूची नम्बर ९८ ले महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा पहिलो चरणमा २५ वटा निःशुल्क ब्लु बस सञ्चालन गर्ने लक्ष्य राखेको थियो। महिला, विद्यार्थी, ज्येष्ठ नागरिक तथा जोखिममा रहेका समूहका लागि सुरक्षित सार्वजनिक यातायात उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम घोषणा गरिएको थियो।

नेपालमा सार्वजनिक यातायातमा हुने यौन दुर्व्यवहार, असुरक्षा र भीडभाडका कारण महिलाले लामो समयदेखि सुरक्षित यात्राको माग गर्दै आएका छन्। त्यसैले ब्लु बसको घोषणा केवल यातायात सेवा विस्तारको कार्यक्रम नभई महिला सुरक्षासँग जोडिएको सामाजिक प्रतिबद्धताका रूपमा पनि हेरिएको थियो।

तर सय दिन पूरा हुँदा पनि कार्यक्रम कार्यान्वयनमा आएको देखिएको छैन। बरु सरकारले यसअघि संचालन हुँदै आएको साझा यातायातलाई निलो रङमा परिणत गरेर ब्लु बस संचालन गर्ने योजना अघि सारेको देखिन्छ।  

भूमिहीनको व्यवस्थापन, सार्वजनिक जग्गाको संरक्षण र महिला सुरक्षाजस्ता विषय कुनै पनि सरकारका लागि संवेदनशील र दीर्घकालीन नीति आवश्यक पर्ने क्षेत्र हुन्। यी विषयमा केवल घोषणा गर्नु पर्याप्त हुँदैन। प्रभावित समुदायसँग संवाद, कानुनी स्पष्टता, पर्याप्त बजेट, पुनर्स्थापना योजना र पारदर्शी कार्यान्वयन समान रूपमा आवश्यक हुन्छ।

यदि सार्वजनिक जग्गा संरक्षणका नाममा गरिबमाथि मात्रै कारबाही हुने तर प्रभावशाली व्यक्तिमाथि कानुन समान रूपमा लागू नहुने अवस्था देखियो भने राज्यप्रतिको नागरिक विश्वास कमजोर हुन सक्छ। त्यसैगरी सुकुम्बासी व्यवस्थापनमा पुनर्स्थापनाको ठोस योजना नहुँदा सामाजिक समस्या अझ जटिल बन्ने जोखिम रहन्छ।

सामाजिक सुधारका एजेन्डामा महत्वाकांक्षी प्रतिबद्धता देखिए पनि कार्यान्वयन अपेक्षाअनुसार अघि बढ्न सकेको देखिँदैन। भूमिहीन सुकुम्बासी व्यवस्थापन, सार्वजनिक जग्गा संरक्षण र महिलाको सुरक्षित सार्वजनिक यातायातजस्ता विषयमा सरकारले स्पष्ट कार्ययोजना, समान कानुनी मापदण्ड र समयबद्ध कार्यान्वयन प्रस्तुत गर्न सके मात्रै नागरिकको विश्वास बढ्न सक्छ

सरकारका सय दिन : दुई सुकुम्बासी आत्महत्या गर्न बाध्य, एकले होल्डिङ सेन्टरमै त्यागे प्राण

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा मन्त्रालयहरूले आफ्ना उपलब्धिहरू सार्वजनिक गरेका छन्।

प्रशासनिक सुधारदेखि पूर्वाधार र सेवा प्रवाहसम्मका विभिन्न दाबी गरिए पनि भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी व्यवस्थापन सरकारका सबैभन्दा धेरै बहस भएका विषयमध्ये एक बनेको छ।

सरकार गठनसँगै सार्वजनिक गरेको १०० बुँदे प्रतिबद्धताको बुँदा नम्बर ९१ मा देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको ‘एकीकृत डिजिटल लगत सङ्कलन तथा प्रमाणीकरण’ ६० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको थियो।

तर सय दिन पूरा हुँदा पनि उक्त लक्ष्य पूर्ण रूपमा हासिल हुन सकेको छैन। बरु यही अवधिमा सरकारले सार्वजनिक तथा जोखिमयुक्त जग्गामा रहेका बस्ती हटाउने अभियानलाई तीव्रता दिएको देखियो।

सरकारले वैशाख १२ गतेदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउने अभियान सञ्चालन गर्‍यो। सरकारले सार्वजनिक जग्गा संरक्षण तथा जोखिम न्यूनीकरणलाई आधार बनाउँदै डोजर अभियान अघि बढायो। प्रभावित परिवारलाई अस्थायी होल्डिङ सेन्टरमा राखी तथ्यांक सङ्कलन, पहिचान र प्रमाणीकरणको प्रक्रिया सुरु गर्‍यो ।

तर पुनःस्थापनाको स्पष्ट खाका सार्वजनिक नगरी बस्ती हटाइएको भन्दै सरकारको आलोचना चर्कियो। प्रभावित परिवारहरूले सुरक्षित आवासको माग गर्दै आन्दोलन गरे भने मानवअधिकारकर्मी तथा विभिन्न सरोकारवालाले व्यवस्थापनभन्दा हटाउने कार्यलाई प्राथमिकता दिइएको टिप्पणी गरे।

यस अवधिमा बस्ती हटाउने अभियानसँग जोडिएका केही दुःखद घटना पनि सार्वजनिक भए।

काठमाडौंको मनोहरा सुकुम्बासी बस्तीमा डोजर चल्दा रविन तामाङका १७ वर्षे छोराले आत्महत्या गरे । रविनका अनुसार छोरा बालेन सरकारले टहरा भत्काएपछि के गर्ने होला भनेर गम्भीर चिन्तामा थिए । यस्तोमा उनी झुण्डिएको अवस्थामा मृत फेला परे ।

सुकुम्बासी बस्तीमा बालेन सरकारले डोजर चलाउँदा छोरा गुमाएका रविनको श्रीमती दमको रोगी छिन् । आमा पक्षघातले थलिएका छन् । रविनको पनि स्वास्थ्य अवस्था कमजोर छ । उनीहरूको कसरी व्यवस्थापन भइरहेको छ यसबारे सरकार मौन छ।

त्यस्तै,डोजरले आफ्नो टहरा भत्काएको हेर्न सक्दिन भनेर वैशाख १८  गते बिहानै निस्केका इन्द्रबहादुर राई  दिउँसो बल्खु नजिकैको बागमती खोलामा मृत फेला परे । उक्त दिन प्रधानमन्त्री बालेनको निर्देशनमा बिहानै बल्खु क्षेत्रको सुकुम्बासी बस्तीमा चार वटा डोजरसँगै प्रहरी परिचालन भएका थिए ।

डोजर पसे लगत्तै श्रीमती सरिता राईलाई ‘डोजरले आफ्नो टहरा भत्काएको हेर्न सकिँदैन’ भन्दै उनी टहराबाट बाहिर निस्किएका थिए,  ६० वर्षीया राई दिउँसो भने मृत फेला परे ।

दुई जनाले आत्महत्यापछि होल्डिङ सेन्टरमा रहेका एक जनाको मृत्यु भएको विवरण बाहिर आयो। सरकारविरुद्ध सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका एक जना प्रभावित व्यक्ति पक्राउ परेपछि अभिव्यक्ति स्वतन्त्रताको विषयसमेत चर्चामा रह्यो।

भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले भने सय दिनको उपलब्धिमा डिजिटल ड्यासबोर्ड निर्माणलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेको छ।

मन्त्रालयका अनुसार स्थानीय तहबाट प्राप्त विवरणलाई एकीकृत डिजिटल प्रणालीमा समेट्ने काम अन्तिम चरणमा पुगेको छ। हालसम्म १२ लाख ४८ हजारभन्दा बढी व्यक्तिको विवरण डिजिटल अभिलेखमा समावेश गरिएको मन्त्रालयको दाबी छ, जुन अघिल्लो अवधिको तुलनामा वृद्धि भएको जनाएको छ।

दीर्घकालीन समाधानका लागि सरकारले नयाँ कार्यविधि लागू गर्दै भूमि व्यवस्थापन समितिमार्फत काम अघि बढाएको जनाएको छ। मन्त्रिपरिषद्को १९ जेठको निर्णयअनुसार बलभद्र बास्तोलाको नेतृत्वमा समिति गठन गरी लगत प्रमाणीकरण र भूमि वितरणको प्रक्रिया अघि बढाइएको छ।

सरकारले भूमि वितरण प्रक्रिया पनि सुरु गरेको जनाएको छ। भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले घोषणा गरेअनुसार बर्दियाको बढैयाताल गाउँपालिका–४ मा २९ परिवारलाई लालपुर्जा वितरण गरिएको छ। तीमध्ये दुई परिवार भूमिहीन दलित र २७ परिवार भूमिहीन सुकुम्बासी रहेका छन्।

सम्बन्धित निकायका अनुसार लाभग्राहीहरू लामो समयदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका थिए। कानुनी मापदण्डअनुसार तोकिएको सीमाभित्रको जग्गामा मात्रै स्वामित्व प्रदान गरिएको छ भने त्यसभन्दा बढी क्षेत्र सरकारी स्वामित्वमै रहने व्यवस्था लागू गरिएको छ।

बर्दिया सरकारको सय दिने कार्ययोजनाअन्तर्गत लालपुर्जा वितरण सुरु गर्ने पहिलो जिल्ला बनेको छ। अब जिल्लाभित्र रहेका हजारौँ भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या चरणबद्ध रूपमा समाधान गर्ने तयारी रहेको जनाइएको छ।

सरकारले डिजिटल अभिलेख निर्माण, नयाँ कार्यविधि र लालपुर्जा वितरणलाई उपलब्धिका रूपमा प्रस्तुत गरे पनि देशभरका भूमिहीन तथा सुकुम्बासी समस्याको समाधान अझै प्रारम्भिक चरणमै देखिन्छ।

भूमि व्यवस्थापन समितिका अधिकारीहरूका अनुसार वास्तविक अवस्था अपेक्षाभन्दा जटिल भएकाले सबै समस्या छोटो अवधिमा समाधान गर्न सम्भव छैन। तथ्यांक प्रमाणीकरण, योग्य लाभग्राहीको पहिचान, पुनःस्थापना, जग्गा व्यवस्थापन र स्थानीय तहसँगको समन्वयलाई एकसाथ अघि बढाउनुपर्ने चुनौती अझै बाँकी छ।

सरकारका सय दिनको समीक्षा गर्दा सुकुम्बासी व्यवस्थापनमा केही प्रशासनिक प्रक्रिया र संस्थागत तयारी अघि बढेको देखिए पनि पुनःस्थापना, सुरक्षित आवास तथा दीर्घकालीन समाधानका विषयमा अपेक्षाअनुसार परिणाम आउन नसकेको भन्दै बहस जारी छ।

डिजिटल प्रतिबद्धता र स्थलगत कार्यान्वयनबीचको दूरी घटाउनु अब सरकारका लागि मुख्य चुनौतीका रूपमा देखिएको छ।

रेयर अर्थको रेसमा चीन-अमेरिका

काठमाडौं। विश्व अर्थतन्त्रमा ‘रेयर अर्थ’ (दुर्लभ पृथ्वी खनिज) को चर्चा अब केवल खानी वा व्यापारसम्म सीमित छैन। पछिल्ला वर्षहरूमा चीनले रेयर अर्थ निर्यातमा नियन्त्रण कडा बनाउँदै जाँदा धेरैले यसलाई अमेरिकाविरुद्धको आर्थिक हतियारका रूपमा व्याख्या गरे। तर चीनको रणनीति तत्काल आर्थिक दबाब सिर्जना गर्नु मात्र नभई, विश्व प्रविधि र औद्योगिक प्रतिस्पर्धामा दीर्घकालीन प्रभुत्व कायम गर्ने दिशामा केन्द्रित रहेको देखिन्छ।

विश्व शक्ति सन्तुलन तीव्र रूपमा प्रविधिमुखी बन्दै गइरहेका बेला रेयर अर्थ खनिजहरू आर्थिक स्रोतभन्दा पनि रणनीतिक सम्पत्तिका रूपमा स्थापित हुँदै गएका छन्।

विद्युतीय सवारीसाधन, कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, हावाबाट विद्युत उत्पादन गर्ने टर्बाइन, अन्तरिक्ष प्रविधि, रक्षा प्रणाली तथा अत्याधुनिक इलेक्ट्रोनिक्सजस्ता उद्योगहरूको आधार नै यिनै खनिज बनेका छन्। त्यसैले रेयर अर्थमाथिको नियन्त्रण आजको विश्व राजनीतिमा ऊर्जा स्रोतभन्दा कम महत्त्वपूर्ण विषय मानिँदैन।

धेरैले चीनको प्रभुत्वलाई त्यहाँ रहेका विशाल रेयर अर्थ भण्डारसँग जोड्ने गरेका छन्। तर वास्तविकता केही फरक छ। विश्वका विभिन्न देशमा रेयर अर्थको भण्डार भए पनि तिनलाई प्रशोधन गरेर उद्योगमा प्रयोग गर्न सकिने सामग्रीमा रूपान्तरण गर्ने पूर्वाधार, प्रविधि र औद्योगिक क्षमता मुख्य रूपमा चीनसँग केन्द्रित छ।

विगत धेरै दशकदेखि चीनले प्रशोधन उद्योग, रासायनिक रूपान्तरण, स्थायी चुम्बक उत्पादन तथा त्यससँग सम्बन्धित सम्पूर्ण आपूर्ति शृङ्खलामा लगानी गर्दै आएको छ। फलस्वरूप, कच्चा खनिज अन्य देशबाट आए पनि अन्तिम औद्योगिक उत्पादनका लागि धेरै मुलुक चीनकै प्रशोधन क्षमतामा निर्भर रहन बाध्य छन्।

अमेरिका र चीनबीचको प्रतिस्पर्धा अब केवल व्यापार घाटा वा भन्सार शुल्कमा सीमित छैन। अहिले दुवै मुलुक कृत्रिम बुद्धिमत्ता, सेमिकन्डक्टर, क्वान्टम कम्प्युटिङ, अन्तरिक्ष प्रविधि र उन्नत उत्पादन प्रणालीमा विश्व नेतृत्वका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

यी सबै क्षेत्रमा रेयर अर्थको प्रयोग अनिवार्यजस्तै छ। विद्युतीय सवारीका मोटरदेखि आधुनिक मिसाइल प्रणाली, लडाकु विमान, औद्योगिक रोबोट र अत्याधुनिक इलेक्ट्रोनिक्ससम्म रेयर अर्थबाट बनेका उच्च क्षमताका चुम्बक र अन्य सामग्री आवश्यक पर्छन्। यही कारण यी खनिजहरूको महत्त्व सामान्य व्यापारिक वस्तुभन्दा धेरै माथि पुगेको छ।

अमेरिकाले पछिल्ला वर्षहरूमा चीनलाई अत्याधुनिक सेमिकन्डक्टर, चिप निर्माण उपकरण र उन्नत प्रविधिमा पहुँच सीमित गर्ने नीति अपनाउँदै आएको छ। यसको प्रतिउत्तरस्वरूप चीनले आफूलाई संरचनागत रूपमा बलियो बनाएका क्षेत्रलाई रणनीतिक रूपमा प्रयोग गर्न थालेको विश्लेषण गरिन्छ।

रेयर अर्थ निर्यातमा अनुमति प्रणाली कडा बनाउने, निश्चित चुम्बक तथा प्रशोधित सामग्रीको निर्यात सीमित गर्ने तथा आपूर्ति शृङ्खलामाथि निगरानी बढाउने कदम यही रणनीतिक सोचको हिस्सा मानिन्छ। यसको उद्देश्य विश्व व्यापार रोक्नु होइन, आवश्यक पर्दा आपूर्तिमा प्रभाव पार्ने क्षमता सुरक्षित राख्नु हो।

यद्यपि चीनको वर्तमान प्रभुत्व स्थायी हुने निश्चित छैन। चीनले निर्यात नियन्त्रणलाई धेरै आक्रामक बनायो भने अन्य मुलुकले वैकल्पिक आपूर्ति शृङ्खला निर्माणमा अझ तीव्र लगानी गर्ने सम्भावना बढ्छ।

अमेरिका, अस्ट्रेलिया, क्यानडा तथा युरोपेली मुलुकहरूले आफ्नै प्रशोधन उद्योग विकास गर्ने योजना अघि बढाइसकेका छन्। भियतनाम र मलेसियाले पनि वैकल्पिक प्रशोधन केन्द्रका रूपमा आफूलाई विकास गर्ने प्रयास गरिरहेका छन्। यस्ता पहल सफल भएमा आगामी दशकमा चीनको एकाधिकार कमजोर हुन सक्छ।

विश्लेषकहरूका अनुसार चीनको वास्तविक लाभ तत्काल निर्यात रोक्नुमा होइन, प्रतिस्पर्धी राष्ट्रहरूको नयाँ आपूर्ति शृङ्खला निर्माण प्रक्रियालाई ढिलो पार्न सक्ने क्षमतामा छ। नयाँ खानी खोल्ने, प्रशोधन उद्योग स्थापना गर्ने, वातावरणीय स्वीकृति लिने र उत्पादनलाई व्यावसायिक स्तरमा पुर्‍याउन धेरै वर्ष लाग्ने भएकाले चीनसँग अझै पनि समयको लाभ छ।

यही अवधिमा चीनले आफ्ना औद्योगिक क्षमता, उच्च प्रविधि उद्योग र उत्पादन प्रणालीलाई थप मजबुत बनाउन सक्छ। त्यसैले छोटो अवधिको प्रतिबन्धभन्दा दीर्घकालीन रणनीतिक समय व्यवस्थापन चीनका लागि अझ प्रभावकारी साधन बन्न सक्छ।

विश्व शक्ति प्रतिस्पर्धा अब तेल र ग्यासमा मात्र सीमित रहने अवस्था छैन। भविष्यको नेतृत्व रेयर अर्थ, सेमिकन्डक्टर, कृत्रिम बुद्धिमत्ता, डेटा र उन्नत उत्पादन प्रविधिमाथिको नियन्त्रणले निर्धारण गर्ने सम्भावना बढ्दै गएको छ।

त्यसैले चीनले रेयर अर्थलाई सामान्य प्राकृतिक स्रोतका रूपमा होइन, भविष्यको आर्थिक तथा सैन्य प्रभाव विस्तार गर्ने रणनीतिक सम्पत्तिका रूपमा विकास गरिरहेको छ। उता अमेरिकाले सेमिकन्डक्टर र उन्नत चिप प्रविधिमार्फत समान प्रकारको रणनीतिक अग्रता कायम गर्ने प्रयास गरिरहेको छ।

यही प्रतिस्पर्धाले आगामी दशकमा विश्व अर्थतन्त्र, उद्योग र भूराजनीतिक शक्ति सन्तुलनलाई नयाँ दिशा दिने संकेत देखिएको छ।

भान्सासम्म यसरी पुग्छ विषादीयुक्त तरकारी

काठमाडौं। नेपाली उपभोक्ताको दैनिक भान्सामा प्रयोग हुने तरकारी र फलफूलको सुरक्षामाथि पछिल्ला महिनाहरूमा गम्भीर प्रश्न उठ्न थालेका छन्।

बजारमा बिक्री भइरहेका विभिन्न तरकारीमा पटक-पटक अत्यधिक विषादी फेला परेपछि खाद्य सुरक्षाप्रति आम नागरिकको चिन्ता बढ्दो छ। अझ चिन्ताको विषय के छ भने परीक्षण प्रणाली कमजोर हुँदा प्रयोगशालाले अखाद्य ठहर गरेका तरकारीसमेत उपभोक्ताको भान्सासम्म पुग्ने जोखिम कायमै रहेको छ।

कृषि उत्पादन बढाउने, बेमौसमी तरकारी उत्पादन गर्ने र कीराको प्रकोप नियन्त्रण गर्ने उद्देश्यले किसानले विभिन्न प्रकारका विषादी प्रयोग गर्ने गरेका छन्। तर कतिपय अवस्थामा तोकिएको मात्रा र ‘वेटिङ पिरियड’ (विषादी छरेपछि बाली टिप्नुपर्ने न्यूनतम समय) पालना नगर्दा त्यही विषादी अन्ततः उपभोक्ताको थालीसम्म पुगिरहेको छ।

नेपालमा स्वदेशी उत्पादनसँगै भारतलगायत अन्य मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा पनि विषादीको मात्रा समय-समयमा परीक्षण हुने गरेको भए पनि अनुगमनको दायरा सीमित रहेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार देशकै सबैभन्दा ठूलो थोक कृषि बजार हो। देशका विभिन्न जिल्ला र विदेशबाट आएका अधिकांश तरकारी यहीँबाट काठमाडौं उपत्यकाका अन्य बजारमा वितरण हुन्छन्।

तर यहाँको परीक्षण प्रणालीमाथि नै प्रश्न उठ्ने गरेको छ। कालीमाटीमा तरकारीको कारोबार राति करिब २ बजेदेखि सुरु हुन्छ। बिहानसम्म अधिकांश तरकारी बल्खु, जडीबुटी, कलंकी, चाबहिल, बौद्ध, कपन, सामाखुसी, बालाजु, नक्साल, धुम्बाराही, तीनकुने, भृकुटीमण्डपलगायतका बजारमा पुगिसक्छ।

तर विषादी परीक्षण भने बिहान ७ बजेपछि मात्रै सुरु हुने गरेको छ। यसरी परीक्षणको नतिजा आउँदासम्म धेरैजसो तरकारी बजारमा बिक्रीका लागि पुगिसकेको हुन्छ। त्यसैले परीक्षणमा अत्यधिक विषादी भेटिए पनि त्यसको प्रभाव सीमित हुने गरेको सरोकारवालाहरू बताउँछन्।

पछिल्ला तीन महिनाको तथ्याङ्क हेर्दा कालीमाटी बजारमा मात्रै २० भन्दा बढी खेप तरकारीमा अत्यधिक विषादी फेला परेको छ।

काउली, रायोको साग, धनियाँ, टमाटर, लौका, काक्रो, आलु लगायत दैनिक उपभोग हुने तरकारीमा मापदण्डभन्दा बढी विषादी भेटिएको परीक्षणले देखाएको छ।

यस्ता तरकारी मानव स्वास्थ्यका लागि हानिकारक मानिए पनि उत्पादनकर्ता वा आपूर्तिकर्तामाथि प्रभावकारी कारबाही नहुँदा समस्या दोहोरिने क्रम रोकिएको छैन।

काठमाडौं महानगरपालिका क्षेत्रमा मात्रै करिब १४ वटा ठूला तरकारी बजार सञ्चालनमा छन्। बल्खु, कालीमाटी, जडीबुटी, चाबहिल, कपन, बौद्ध, तीनकुने, कलंकी, सामाखुसी, बालाजु, धुम्बाराही, नक्साल, भृकुटीमण्डप लगायतका बजारमा दैनिक सयौँ क्विन्टल तरकारीको कारोबार हुन्छ।

तर नियमित विषादी परीक्षण भने मुख्यतः कालीमाटीमा मात्रै हुने गरेको छ। अन्य बजारमा पुग्ने तरकारीको गुणस्तर कस्तो छ भन्नेबारे उपभोक्ताले जानकारी पाउने कुनै प्रभावकारी व्यवस्था छैन।

यसले गर्दा एक ठाउँमा रोकिएको तरकारी अर्को बजारबाट बिक्री हुने सम्भावना रहने उपभोक्ताको गुनासो छ।

जडीबुटीस्थित मनोहरा कृषि बजारमा तरकारी किन्न आउने उपभोक्ताहरू पनि आफूले कस्तो तरकारी खाइरहेका छौँ भन्नेबारे अनभिज्ञ रहेको बताउँछन्।

लोकन्थलीका सुवास सापकोटाका अनुसार बजारमा सस्तो भएकैले तरकारी किन्ने गरिए पनि त्यसमा कति विषादी छ भन्ने छुट्याउने कुनै उपाय उपभोक्तासँग छैन।

उनका अनुसार कालीमाटीमा परीक्षण हुँदा पनि अन्य बजारमा बिक्री भइरहेका तरकारीको अवस्था के छ भन्ने जानकारी नहुँदा उपभोक्ता अन्योलमा छन्।

यस्तै, सानो बच्चाकी आमा मिना शाहीले बजारमा आउने तरकारीबारे नकारात्मक समाचार सुनिएपछि आफ्ना छोराछोरीलाई तरकारी खुवाउनसमेत डर लाग्ने गरेको बताइन्। गाउँबाट आउने तरकारी पाए त्यही प्रयोग गर्ने, अन्यथा बजारका तरकारीप्रति विश्वास घट्दै गएको उनको भनाइ छ।

स्वास्थ्य विज्ञहरूका अनुसार लामो समयसम्म अत्यधिक विषादीयुक्त खाद्यवस्तु सेवन गर्दा शरीरमा विषाक्त पदार्थ क्रमशः जम्मा हुँदै जान सक्छ।

यसले क्यान्सर, मुटुसम्बन्धी रोग, स्नायुसम्बन्धी समस्या, हर्मोन असन्तुलन, प्रजनन स्वास्थ्यमा असर, कलेजो र मिर्गौलाको कार्यक्षमतामा कमी आउने जोखिम बढाउन सक्छ।

विशेषगरी बालबालिका, गर्भवती महिला, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू यस्ता विषादीको असरबाट बढी प्रभावित हुने चिकित्सकहरूको भनाइ छ।

उपभोक्ता अधिकारकर्मीहरूका अनुसार अहिलेको अनुगमन प्रणाली पर्याप्त छैन।

उनीहरूका अनुसार राजधानीमा यति धेरै तरकारी बजार सञ्चालन भइरहँदा नियमित परीक्षण एउटा बजारमा सीमित हुनु प्रभावकारी व्यवस्था मान्न सकिँदैन।

विषादी बढी भेटिएका उत्पादनकर्ता वा व्यापारीमाथि कडा कारबाही नहुँदा पनि समस्या दोहोरिने गरेको उनीहरूको तर्क छ।

सरकारी अधिकारीहरूका अनुसार सबै नाकामा र सबै बजारमा दैनिक परीक्षण गर्न जनशक्ति, उपकरण र पूर्वाधार पर्याप्त छैन।

काठमाडौं महानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र सम्बन्धित निकायले विभिन्न समयमा र्‍यापिड परीक्षण विस्तार गर्ने योजना सार्वजनिक गरे पनि त्यो पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन।

विशेषज्ञहरूका अनुसार अहिले प्रयोग हुने र्‍यापिड परीक्षणबाट नतिजा आउन पनि समय लाग्ने भएकाले अत्यधिक सवारी चाप हुने स्थानमा प्रत्येक गाडी रोकेर परीक्षण गर्नु व्यावहारिक चुनौती बनेको छ।

विज्ञहरूका अनुसार समस्या समाधानका लागि उत्पादनदेखि उपभोक्ताको भान्सासम्मको सम्पूर्ण आपूर्ति प्रणालीलाई निगरानीमा ल्याउन आवश्यक छ।

यसका लागि भन्सार नाकादेखि थोक बजार र खुद्रा बजारसम्म नियमित परीक्षण विस्तार गर्नुपर्ने, अत्यधिक विषादी प्रयोग गर्ने उत्पादक तथा व्यापारीमाथि कानुनी कारबाही गर्नुपर्ने, किसानलाई सुरक्षित विषादी प्रयोगबारे तालिम दिनुपर्ने तथा उपभोक्ताले पनि तरकारी राम्रोसँग धोएर, केही समय पानीमा भिजाएर वा उपयुक्त विधिबाट प्रशोधन गरेर मात्र प्रयोग गर्नुपर्ने सुझाव दिइएको छ।

तरकारीमा विषादीको समस्या कृषि उत्पादनको मात्रै विषय होइन, यो प्रत्यक्ष रूपमा जनस्वास्थ्यसँग जोडिएको सवाल हो।

परीक्षणको दायरा सीमित, अनुगमन कमजोर र कारबाही प्रभावकारी नहुँदा लाखौँ उपभोक्ता दैनिक रूपमा आफूले खाने तरकारी कति सुरक्षित छ भन्ने जानकारीबिनै उपभोग गर्न बाध्य छन्।

श्रीमती फर्काउन ससुराली पुगेका युवकलाई सालाले आगो लगाइदिएपछि…

काठमाडौं। भारतको पञ्जाब राज्यस्थित तरनतारण जिल्लामा पारिवारिक विवादले दुई जनाको ज्यान जाने दुःखद घटना भएको छ।

श्रीमतीलाई सम्झाएर घर फर्काउन ससुराल पुगेका एक युवकलाई उनका सालाले ज्वलनशील पदार्थ खन्याएर आगो लगाएको आरोप लागेको छ। उनलाई बचाउने प्रयास गरेकी युवतीको पनि उपचारका क्रममा मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार घटना गत जुन १३ मा तरनतारण जिल्लाको संघा गाउँमा भएको हो। घटनाको भिडियो हालै सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यो विषय फेरि चर्चामा आएको छ।

मृतक लवप्रीत सिंह केही दिनअघि भएको पारिवारिक विवादपछि माइती गएकी आफ्नी श्रीमती सन्दीप कौरलाई फर्काउन ससुराल पुगेका थिए। सोही क्रममा उनका साला साजन सिंहले उनीमाथि ज्वलनशील पदार्थ खन्याएर आगो लगाएको आरोप लागेको प्रहरीले जनाएको छ।

आगो लागेपछि लवप्रीतलाई बचाउन उनकी साली गुरजीत कौर दौडिएकी थिइन्। तर उनी पनि आगोको चपेटामा परेर गम्भीर रूपमा घाइते भएकी थिइन्। दुवैलाई अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा उनीहरूको मृत्यु भएको बताइएको छ।

घटनामा आरोपी साजन सिंह पनि आगोले जलेर घाइते भएका छन्। उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले साजन सिंहविरुद्ध हत्या लगायतका कसुरमा मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

भिडियो सामाजिक सञ्जालमा भाइरल

घटनासँग सम्बन्धित एउटा भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। भिडियोमा एक व्यक्तिले अर्को व्यक्तिमाथि ज्वलनशील पदार्थ खन्याएको र त्यसपछि आगलागी भएको देखिन्छ। त्यसपछि एक महिला हस्तक्षेप गर्न पुगेको र उनी पनि आगोको चपेटामा परेको दृश्य देखिन्छ।

भिडियो सार्वजनिक भए पनि घटनाबारे अनुसन्धान जारी रहेकाले सम्बन्धित निकायको आधिकारिक निष्कर्ष आउन बाँकी रहेको छ।

सय दिनमा सरकार असफल : आरेन राई

काठमाडौं। श्रम संस्कृति पार्टीका महासचिव तथा प्रतिनिधिसभा सदस्य आरेन राईले सरकारले आफ्नै कार्यसूचीअनुसार काम गर्न नसकेको बताएका छन्।

अनामनगरस्थित नेसनल प्रेस क्लब नेपाल (एनपीसीएन) ले आयोजना गरेको ‘सरकारको कर्तव्य र प्रतिपक्षको भूमिका’ विषयक विचार तथा छलफल कार्यक्रममा बोल्दै उनले सरकारका कामकारबाही जनताले नियालिरहेको बताएका हुन्।

‘सरकारका सय दिनका काम जनताले पनि नियालिरहेका छन्,’ उनले भने, ‘पहिला संविधान संशोधनको कुरा गरौँ। सरकारले संविधान संशोधनका नाममा जनताका हकअधिकार संकुचित पार्ने काम गरिरहेको छ।’

त्यस्तै, उनले सरकारले संघीयता खारेज गर्ने भन्दै बबन्डर मच्चाइरहेको बताए। ‘जेनजी आन्दोलनको माग र २१ फागुनको निर्वाचनको मतादेश अर्कै थियो, सरकारले अर्कै काम गरिरहेको छ,’ उनले भने।

बजेटलगायत सरकारका सय दिनका कामको आलोचना गर्दै राईले नयाँ भनेर आएको सरकारले नयाँ केही पनि गर्न नसकेको बताए। अध्यादेश ल्याउने, आफ्नै मान्छेलाई विभिन्न संस्थाहरूमा नियुक्ति दिने लगायतका कार्यले सुशासन नदिने उनको धारणा छ। ‘सरकारको पारदर्शिताको मापदण्ड के हो, देखिएन,’ उनले प्रश्न गरे।

राईले काठमाडौंका खोला किनारमा बसिरहेका सुकुमवासीहरूको सरकारले बिचल्ली बनाएको आरोप लगाए। ‘व्यवस्थापनका नाममा खोला किनारमा बसेका अव्यवस्थित सुकुमवासीलाई सरकारले व्यवस्थापनको योजना नै नबनाई लखेट्ने काम गर्‍यो,’ उनले भने।

त्यस्तै, राईले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले १७ जेठमा संसद्को रोस्ट्रमबाट ‘नेपालले पनि भारतका धेरै ठाउँमा जग्गा मिचेको रहेछ’ भनी दिएको अभिव्यक्ति राष्ट्रघाती भएको दाबी गरे। उनका अनुसार प्रधानमन्त्रीले दिएको उक्त अभिव्यक्ति सच्याइनुपर्छ र संसद्को रेकर्डबाट हटाइनुपर्छ। ‘चितवनमा पार्टीको महाधिवेशनमा गएर दिएको स्पष्टीकरण मान्य हुँदैन। संसदमा नै दिनुपर्छ,’ उनले भने।

मधेशबाट कमजोर हुँदै रास्वपा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र रहेका मधेसी नेता तथा सांसदहरूले पार्टी नेतृत्व र सरकारप्रति असन्तुष्टि व्यक्त गर्न थालेका छन्।

उनीहरूको भनाइअनुसार मधेसबाट उल्लेखनीय जनसमर्थन प्राप्त भए पनि पार्टीले मधेसका मुद्दा र नेतृत्वलाई अपेक्षित प्राथमिकता दिन नसकेको गुनासो छ।

असन्तुष्ट नेताहरूले केन्द्रीय नेतृत्व, मन्त्री नियुक्ति तथा अन्य महत्वपूर्ण जिम्मेवारीमा मधेसी समुदायको प्रतिनिधित्व कमजोर रहेको दाबी गरेका छन्। साथै, पार्टीका अधिकांश निर्णय केही सीमित नेताहरूको घेराभित्र केन्द्रित भएको आरोप पनि उनीहरूले लगाएका छन्।

राजनीतिक विश्लेषकहरूले मधेस क्षेत्रमा बढ्दो असन्तुष्टिले पार्टीको संगठन विस्तार र जनविश्वासमा प्रभाव पार्न सक्ने आकलन गरेका छन्।

असन्तुष्ट नेताहरूले आगामी केन्द्रीय मनोनयनमा मधेसी समुदायको उचित प्रतिनिधित्व सुनिश्चित भए वा नभएको आधारमा आफ्नो भावी राजनीतिक निर्णय तय गर्ने संकेत दिएका छन्।

सञ्चारमन्त्री तिमिल्सिनाको प्रश्न : ती बिचौलिया श्रमजीवी पत्रकार हुन् ?’

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आफू श्रमजीवी पत्रकारको पक्षमा रहेको बताएका छन्।

नेपाल पत्रकार महासंघको कार्यक्रममा बोल्दै उनले श्रमजीवीको हितका लागि विनियोजन हुने रकममध्ये ठूलो हिस्सा बिचौलियाको हातमा जाने विषयमा किन प्रश्न नउठाइएको भन्दै आलोचनात्मक टिप्पणी गरे।

उनले भने, ‘न्युज रिपोर्टहरूमा विज्ञापनको रकम दुरुपयोग भयो भन्ने ब्रेक भएको बेला नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गर्‍यो कि गरेन ? ती बिचौलिया श्रमजीवी पत्रकार हुन् ?’

मन्त्री तिमिल्सिनाले मिडिया क्षेत्रलाई सुदृढ बनाउन आवश्यक नीतिगत बहस आवश्यक रहेको उल्लेख गर्दै वर्तमान मिडिया इकोसिस्टममा सुधारको खाँचो रहेको बताए।

उनका अनुसार सरकारले मिडिया क्षेत्रलाई निरन्तर संरक्षण गरिरहनुपर्ने अवस्थाको सट्टा आत्मनिर्भर र जवाफदेही प्रणाली विकास गर्नुपर्ने आवश्यकता छ।

उनले भने, ‘मिडिया सेक्टरलाई बलियो बनाउन के गर्नुपर्छ बहस गरौँ। तर यस्तो प्रणाली बनोस् कि सरकार जहिल्यै मिडिया सेक्टरबाट डराउनु पर्ने अवस्था नआओस्।’

मन्त्री तिमिल्सिनाले राजनीति र मिडिया दुवै क्षेत्र जवाफदेही (अकाउन्टेबल) हुनुपर्नेमा जोड दिँदै पत्रकारिताको मूल धर्मअनुसार प्रश्न उठाउन आग्रह गरे।

उनले मिडिया क्षेत्रका समस्या समाधानका लागि सरकार संवाद र छलफलमा तयार रहेको उल्लेख गर्दै सरोकारवालालाई सहकार्यका लागि आह्वान पनि गरे।

विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत हुने त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि नेदरल्यान्ड्स जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले औपचारिक रूपमा बिदाइ गरेको छ।

नेपाल, नामिबिया र घरेलु टोली नेदरल्यान्ड्स सहभागी रहने उक्त शृङ्खला जुलाई २१ देखि सुरु हुने छ। प्रतियोगिताअघि नेपाली टोलीले जर्सीमा अभ्यास खेल तथा प्रशिक्षणमार्फत आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्‍याउनेछ।

बिदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्काले नेपाली टोलीले अघिल्लो युरोप भ्रमणमा जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्‍याउने विश्वास व्यक्त गरे। उनले हालका खेलमा देखिएको आत्मविश्वास र प्रदर्शनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

उनले आगामी महिनाहरू नेपाली क्रिकेटका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै विश्वकप लिग–२ का खेलसँगै नेपाल प्रिमियर लिग (एनपीएल) को तयारी पनि सँगसँगै अघि बढ्ने बताए।

टोलीका कप्तान रोहित पौडेलले अभ्यास सन्तोषजनक रहेको र खेलाडीहरू शारीरिक तथा मानसिक रूपमा प्रतियोगिताका लागि तयार रहेको जानकारी दिए। उनले पछिल्ला सातादेखि फिटनेस र खेल रणनीतिमा विशेष ध्यान दिइएको बताए।

रोहितका अनुसार विश्वकप छनोटको लक्ष्यका लागि लिग–२ का बाँकी खेलहरू निर्णायक हुने भएकाले प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित टोली मैदान उत्रिनेछ।

पौराणिक कथामा आधारित ‘नाग बन्धम’ देशभर प्रदर्शनमा

काठमाडौं। ठूलो बजेटमा निर्माण गरिएको पौराणिक ड्रामा फिल्म ‘नाग बन्धम’ नेपालमा प्रदर्शनमा आएको छ। क्यापिटल वर्ल्डमार्फत नेपाल भित्रिएको यो फिल्म शनिबार बेलुकाको शोदेखि देशभर प्रदर्शनमा आएको हो।

फिल्मले हिमालयको रहस्यमय गहिराइमा लुकेको भगवान् अनन्त पद्मनाभस्वामीको अमूल्य खजाना र श्रीरङ्गापुरम् मन्दिरमा रहेको ऐतिहासिक ‘ब्रह्म कमल’ (सुनौलो फूल) को कथालाई भव्य रूपमा प्रस्तुत गरेको छ।

अभिषेक नामाको लेखन तथा निर्देशनमा बनेको फिल्मको मुख्य पात्र रुद्र (विराट कर्ण) लाई भगवान् महादेवको शक्तिशाली र उग्र स्वरूपसँग जोडेर चित्रण गरिएको छ। रुद्रले आफ्नो समुदाय र धार्मिक सम्पदालाई दुष्ट शक्तिबाट जोगाउन संघर्ष गर्ने कथा फिल्ममा देखाइएको छ।

फिल्ममा विराट कर्ण, नभा नतेश र ऐश्वर्या मेनन मुख्य भूमिकामा छन्। साथै महेश माञ्जरेकर, जगपति बाबु, मुरली शर्मा र ऋषभ साहनीको पनि महत्वपूर्ण अभिनय रहेको छ। ‘केजीएफ’ मा ‘गरुडा’ पात्रका रूपमा चर्चित रामचन्द्र राजु फिल्ममा खलनायकको भूमिकामा देखिएका छन्।

एनआईके स्टुडियो र अभिषेक पिक्चर्सको ब्यानरमा किशोर अन्नपुरेड्डी र निशिता नागिरेड्डीले निर्माण गरेको यो फिल्मले पौराणिक कथालाई सामाजिक, राजनीतिक तथा साम्प्रदायिक विषयसँग जोडेर प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ।

फिल्ममा मानिसको अमर बन्ने चाहना र शक्तिप्रतिको लोभलाई केन्द्रमा राखिएको छ। खलपात्रहरू अब्दाली र बैरागीले ‘ब्रह्म कमल’ प्राप्त गरी परम शक्ति हासिल गर्न खोज्दा, रुद्रले त्यसको रक्षा गर्न जीवन नै समर्पण गरेको कथा प्रस्तुत गरिएको छ।

फिल्ममा १७५६ सालको फ्ल्यासब्याकमार्फत धार्मिक समुदायमाथि भएको हिंसा र त्यसले पारेको प्रभावलाई पनि जोडिएको छ। कथा अघि बढ्दै जाँदा एक्सन–एड्भेन्चर शैलीमा रूपान्तरण हुन्छ, जहाँ सर्प, चील र गोहीसँगको संघर्ष जस्ता दृश्य समावेश छन्।

भव्य सेट, भिजुअल प्रस्तुति र पौराणिक वातावरण सिर्जनामा गरिएको मेहनत फिल्मको मुख्य आकर्षण भएको बताइएको छ।

दोलखाको वैतेश्वरमा आगलागी, एक घर पूर्ण रूपमा जलेर नष्ट

दोलखा। दोलखाको वैतेश्वर गाउँपालिका–८ क्षेत्रपामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ।

शनिबार भएको आगलागीमा स्थानीय ६३ वर्षीय गोपाल श्रेष्ठको घर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको हो ।

आगलागीबाट घरभित्र रहेका सुनचाँदीका गहना, नगद रकम, अन्नपात तथा लत्ताकपडा लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै, घर नजिकै रहेको गोठमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।

गगन थापाको टिप्पणी: सरकार ‘लाइफ’ भन्दा ‘लाइक’ केन्द्रित छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको प्राथमिकतामाथि प्रश्न उठाउँदै नागरिकको वास्तविक समस्या समाधानभन्दा सामाजिक सञ्जालमा लोकप्रिय देखिने प्रयास बढी भएको टिप्पणी गरेका छन्।

आइतबार सानेपास्थित पार्टी मुख्यालयमा आयोजित सरकारको १०० दिनसम्बन्धी समीक्षा कार्यक्रममा बोल्दै थापाले नीति–निर्णयहरू व्यवहारिक समाधानभन्दा ‘प्रदर्शनमुखी’ शैलीमा केन्द्रित भएको संकेत गरे।

उनका अनुसार भूमिहीन तथा सुकुम्बासी समस्याको दीर्घकालीन समाधान कानुनी प्रक्रियाबाट गर्न सकिने विकल्प हुँदाहुँदै तत्काल दृश्य प्रभाव देखिने कदमलाई प्राथमिकता दिइएको छ।

थापाले भने, ‘यो सरकारलाई लाइफभन्दा लाइकको चिन्ता छ, त्यसैमा लागेको छ । भूमिहिनहरूको समस्या कानुन बनाएर समाधान गरेको भए सामाजिक सञ्जालमा लाइक चाहिँ आउँदैन्थ्यो, त्यसैले सुकुम्बासी बस्तीमा डोजर चलाइयो।’

उनले प्रधानमन्त्रीले बालुवाटारबाट नभई सिंहदरबारबाट शासन सञ्चालन गरेको विषयलाई भने केही सकारात्मक संकेतका रूपमा उल्लेख गरेको बताइएको छ।

प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ

काठमाडौं। आफू प्रहरीको असई (असिस्टेन्ट सब–इन्स्पेक्टर) हुँ भन्दै बर्दीसमेत लगाएर ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा इलाम नगरपालिका–१० घर भएकी ३३ वर्षीया दीपिका बोहोरा (तामाङ) रहेकी छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले आफू प्रहरीको असई भएको दाबी गर्दै बर्दी लगाएको फोटो देखाएर विभिन्न व्यक्तिलाई विश्वास दिलाउने गरेकी थिइन्। त्यसपछि इ–सेवा तथा मोबाइल बैंकिङ एपमार्फत पटक–पटक गरी कुल १५ लाख ५० हजार रुपैयाँसम्म रकम पठाउन लगाएर ठगी गरेको आरोप लागेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरदकुमार थापा क्षेत्रीका अनुसार उनलाई गोंगबु क्षेत्रबाट पक्राउ गरिएको हो।

पक्राउ परेकी उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।

ऊर्जामन्त्रीका सय दिन: कति पूरा, कति अधुरा?

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पदभार ग्रहण गरेलगत्तै गत वैशाख ३ गते मन्त्रालय मातहतका निकायका लागि ३२ बुँदे समयबद्ध कार्यदिशा जारी गरेका थिए। प्रत्येक कामका लागि ७ दिनदेखि ९० दिनसम्मको स्पष्ट समयसीमा तोकिएको थियो।

तर, सरकारको सय दिन पूरा हुँदा तीमध्ये धेरै महत्त्वपूर्ण प्रशासनिक, नीतिगत तथा संस्थागत सुधारका काम तोकिएको समयभित्र सम्पन्न हुन सकेका छैनन्।

मन्त्रालयले सार्वजनिक गरेको सय दिने प्रगति विवरण र कार्यदिशाको तुलनात्मक अध्ययनले समयसीमा तोकिएका धेरै कार्यक्रम अझै प्रक्रियामै रहेको देखाएको छ। कतिपय योजनाहरू प्रतिवेदनमै ‘गरिनेछ’, ‘तयार गरिँदैछ’ वा ‘प्रक्रियामा छ’ भन्ने अवस्थामै उल्लेख गरिएका छन्।

सबैभन्दा पहिले खुला पहुँचमा विद्युत् कारोबारका लागि आवश्यक ‘ह्विलिङ चार्ज मेथोडोलोजी’ निर्धारण गर्ने योजना तोकिएको समयमै कार्यान्वयन हुन सकेन। कार्यदिशाअनुसार विद्युत् नियमन आयोगले ३० दिनभित्र पारदर्शी र स्तरीकृत शुल्क निर्धारण गरी सार्वजनिक गर्नुपर्ने थियो। तर आयोग लामो समयदेखि नेतृत्वविहीन रहेकाले आवश्यक निर्णय हुन सकेको छैन।

त्यस्तै, १५ दिनभित्र स्थापना गर्ने भनिएको ‘अन्तरदेशीय जलस्रोत एकाइ’ पनि अझै पूर्ण रूपमा गठन हुन सकेको छैन। जल तथा ऊर्जा आयोगको सचिवालयभित्र द्विपक्षीय सन्धि, सम्झौता तथा वार्तासम्बन्धी अभिलेख व्यवस्थित गर्ने उद्देश्यले यस्तो एकाइ स्थापना गर्ने योजना रहे पनि मन्त्रालयकै प्रगति विवरणमा यसलाई भविष्यको कार्ययोजनाका रूपमा उल्लेख गरिएको छ।

जल तथा मौसम विज्ञान विभागमार्फत जलवैज्ञानिक तथ्याङ्क उपलब्ध गराउने प्रणाली विकास गर्ने योजना पनि समयमै कार्यान्वयन हुन सकेन। कार्यदिशाअनुसार ६० दिनभित्र प्रवर्द्धक तथा सरोकारवालाले माग गरेको सात कार्यदिनभित्र प्रमाणित तथ्याङ्क उपलब्ध गराउने प्रणाली सञ्चालनमा ल्याउनुपर्ने थियो। तर हालसम्म प्रणाली निर्माणको काम प्रक्रियामै रहेको मन्त्रालयले जनाएको छ।

नेपाल पावर ट्रेडिङ कम्पनीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने र दीर्घकालीन विद्युत् निर्यात रणनीति सार्वजनिक गर्ने लक्ष्य पनि निर्धारित समयमै पूरा हुन सकेन। कार्ययोजनाअनुसार नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले ३० दिनभित्र आवश्यक निर्णय गरी कम्पनीलाई पूर्ण रूपमा क्रियाशील बनाउनुपर्ने थियो। साथै विद्युत् निर्यातका लागि दीर्घकालीन मार्गचित्र पनि सार्वजनिक गर्ने योजना थियो। तर मन्त्रालयको प्रतिवेदनमा मार्गचित्र अझै तयार पार्ने क्रममा रहेको उल्लेख गरिएको छ।

ऊर्जा उत्पादक कम्पनीहरूलाई नदीको बहाव घट्दा लाग्ने ‘कन्ट्र्याक्ट इनर्जी’ जरिवानासम्बन्धी व्यवस्था वैज्ञानिक आधारमा पुनरावलोकन गर्ने योजना पनि अझै निष्कर्षमा पुग्न सकेको छैन। मन्त्रालयले ३० दिनभित्र प्राविधिक तथा कानुनी सिफारिस तयार गर्ने लक्ष्य राखेको भए पनि सय दिनको प्रगति विवरणमा यसबारे ठोस उपलब्धि उल्लेख गरिएको छैन।

त्यस्तै, जलस्रोत विधेयक तथा नवीकरणीय ऊर्जा एवं ऊर्जा दक्षता विधेयकलाई निर्धारित समयभित्र मन्त्रिपरिषद् हुँदै संसद्मा लैजाने लक्ष्य पनि पूरा भएको छैन। कार्यदिशाअनुसार २० दिनभित्र अन्तिम मस्यौदा स्वीकृतिका लागि मन्त्रीसमक्ष पेस गर्ने योजना थियो। तर हाल ती विधेयक कानुन मन्त्रालयमा रायका लागि पठाउने चरणमै रहेको मन्त्रालयले जनाएको छ।

ऊर्जामन्त्री श्रेष्ठले कार्यदिशा सार्वजनिक गर्दा समयमै कार्यान्वयन हुने प्रतिबद्धता व्यक्त गरेका थिए।

तर सय दिनको समीक्षा गर्दा प्रशासनिक प्रक्रिया, नेतृत्व अभाव तथा कानुनी तयारीका कारण धेरै महत्त्वपूर्ण सुधार कार्यक्रम अझै कार्यान्वयनको प्रारम्भिक चरणमै सीमित रहेको देखिएको छ।

डेढ दर्जनको चर्चा,८–९ मात्रै नियुक्ति

काठमाडौं। लामो समयदेखि रिक्त रहेका विभिन्न मुलुकका नेपाली राजदूत नियुक्ति प्रक्रिया अघि बढाउने तयारी सरकारले गरेको छ।

यसै सातादेखि नियुक्ति प्रक्रिया औपचारिक रूपमा सुरु गर्ने तयारी भइरहेका बेला पहिलो चरणमा सीमित संख्यामा मात्रै राजदूत सिफारिस गरिने सम्भावना देखिएको छ।

उच्च सरकारी स्रोतका अनुसार राजदूत नियुक्ति प्रक्रिया दुई चरणमा अघि बढाइनेछ। पहिलो चरणमा परराष्ट्र सेवाका वरिष्ठ सहसचिवमध्येबाट केहीलाई राजदूतका लागि मन्त्रिपरिषद्ले सिफारिस गर्नेछ। त्यसपछि दोस्रो चरणमा खुला आवेदन दिएका उम्मेदवारमध्येबाट छनोट गरी बाँकी पदमा नियुक्तिको प्रक्रिया अघि बढाइने तयारी छ।

यसअघि सरकारले करिब डेढ दर्जन अर्थात् १७ रिक्त राजदूत पदमा नियुक्ति गर्ने तयारी गरेको चर्चा भए पनि पहिलो चरणमा सबै पदमा नियुक्ति नहुने देखिएको छ। प्रारम्भिक तयारीअनुसार पहिलो चरणमा आठ वा नौ जना उम्मेदवारको मात्रै नाम मन्त्रिपरिषद्बाट सिफारिस गरिने सम्भावना रहेको स्रोतले जनाएको छ।

खुला प्रतिस्पर्धामार्फत आवेदन दिएका करिब तीन हजार आवेदकमध्ये पनि सीमित संख्याका उम्मेदवारले मात्रै पहिलो चरणमा अवसर पाउने सम्भावना रहेको बताइएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार शिष्टाचार महापाल कुमार खरेललाई अस्ट्रियाका लागि नेपाली राजदूत बनाउने तयारीसमेत भइरहेको छ।

मन्त्रिपरिषद्ले सिफारिस गरेका उम्मेदवारहरूको नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ। सुनुवाइ प्रक्रिया पूरा भएपछि मात्रै राष्ट्रपतिबाट उनीहरूको औपचारिक नियुक्ति हुनेछ।

राजदूत नियुक्ति लामो समयदेखि रोकिँदा विभिन्न मुलुकस्थित नेपाली दूतावास नेतृत्वविहीन बनेका छन्। सरकारले चरणबद्ध रूपमा रिक्त पदपूर्ति गर्ने तयारी गरेसँगै कूटनीतिक नेतृत्वलाई पूर्णता दिने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

रास्वपा सांसद गेलाल डिग्री पढेका, मेयरकाे सरुवा हुँदैन भन्ने ज्ञान नभएका [भिडियो]

काठमाडौं। रास्वपा सांसद पारशमणि गेलाल मेयरको सरुवा गर्ने भनेपछि यतिबेला भाइरल छन् ।

मेयर होस् वा उपमेयर कसैको सरुवा हुँदैन । तर, कर्मचारीलाई जस्तो सरुवा गर्न मिल्छ भन्ठानेर उनले मेयरलाई नै सरुवा गर्ने भिडियोमा सुनिन्छ ।

जबकि सांसद गेलालले डिग्री पढेका हुन् । तर, पढेर के गर्नु ? मेयरको सरुवा हुँदैन भन्ने कानुनी ज्ञानसमेत छैन । उनी यतिबेला ट्रोलको शिकारसमेत बनेका छन् ।

उनलाई मानिसहरूले खिसी गरिरहेका छन् । कतिले कठै हाम्रो माननीय भन्दै विचारभाव प्रकट गरेका छन् ।

विगतमा रास्वपाले अरु दलका उम्मेदवारहरूलाई हेपेर नजान्ने भन्दै आफ्ना उम्मेदवारहरूलाई निर्वाचित गराउनु भन्दै जनतामाझ नारा लगाए– जान्नेलाई छान्ने । जनताले पनि होलान् त जान्ने भन्दै छाने ।

तर, यतिबेला सांसद गेलाल मेयर सरुवा गर्छु भन्छन् त अर्की सांसद आशिका तामाङ पार्टीको निर्वाचन आयोग हुन्छ भन्ने थाहा पाउँदिनन् । पत्रकारहरूले केही सार्वजनिक मामिलामा प्रश्न गरे भन्छन् – सिक्दैछु।

चुनावमा आफूलाई जान्ने भनेर जनतामाझ गएका र जनताले जिताएपछि सिक्दैछु भन्ने रास्वपा सांसदहरूको यस्तो शैली उधेकलाग्दो देखिएको छ ।

बालेनले भने- शाैचालय संसदमा देखिन, प्रधानमन्त्री कार्यालय गएँ [भिडियो]

काठमाडौं। प्रधानमन्त्री बालेनले शौचालय नभएपछि २८ वैशाखमा संसद भवनदेखि प्रधानमन्त्री कार्यालय गएको बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले बालेन सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन बाहिरिएका थिए ।

त्यसपछि उनलाई विपक्षी सांसदहरूले अमर्यादित प्रधानमन्त्री भने । त्यसबारे जवाफ मागे । तर, दुई महिनापछि प्रधानमन्त्री बालेनले आफू त्यस दिन संसद भवनमा शौचालय नदेखिएपछि प्रधानमन्त्री कार्यालय गएको बताएका हुन् ।

तर, संसद भवनमा शौचालय नभएको भने होइन, छन् । संसदका कर्मचारी, सांसदहरू त्यहीँका शौचालय प्रयोग गर्छन् ।

यद्यपि, प्रधानमन्त्री बालेनले भने शौचालय नदेखिएपछि प्रधानमन्त्री कार्यालय आएको बताएका हुन् । प्रधानमन्त्रीको यस्तो जवाफलाई मानिसहरूले पत्याएका छैनन् ।

 

विदेशी अधिकारीसँग पहिलो औपचारिक भेट गर्दैछन् प्रधानमन्त्री बालेन

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलो पटक कुनै विदेशी उच्च अधिकारीसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री शाहले मंगलबार एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डासँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।

सरकार गठनयता प्रधानमन्त्री शाहले विदेशी राजदूत तथा उच्च कूटनीतिक अधिकारीहरूसँग व्यक्तिगत भेटघाट नगर्ने अभ्यास अपनाएका थिए। त्यसैले एडीबी अध्यक्षसँग हुन लागेको भेटलाई प्रधानमन्त्रीको कूटनीतिक अभ्यासमा आएको पहिलो महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ।

परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार कान्डाले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा अन्य सरकारी अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् भने मंगलबार प्रधानमन्त्री शाहसँग औपचारिक भेट गर्ने कार्यक्रम रहेको छ।

कान्डासँगै एडीबीका उच्च अधिकारीहरूको प्रतिनिधिमण्डल पनि नेपाल आउनेछ। उक्त टोलीमा दक्षिण, मध्य तथा पश्चिम एसियाका लागि एडीबीकी उपाध्यक्ष तथा नेपाली नागरिक सोना श्रेष्ठ पनि सहभागी रहनेछिन्।

प्रधानमन्त्री शाहले यसअघि अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिलाका सहायक विदेशमन्त्री पल कपुर तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग व्यक्तिगत भेट गर्न अस्वीकार गरेका थिए। त्यसपछि भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणसमेत स्थगित भएको थियो।

व्यक्तिगत भेटघाटको सट्टा प्रधानमन्त्री शाहले संस्थागत तथा सामूहिक कूटनीतिक संवादलाई प्राथमिकता दिएका थिए। वैशाख ८ गते उनले काठमाडौंस्थित विभिन्न मुलुकका कूटनीतिज्ञहरूसँग संयुक्त भेट गरेका थिए भने जेठ २६ गते युरोपेली संघका २३ राजदूत तथा उपप्रमुखसहित अस्ट्रेलिया, रुस, थाइल्यान्ड, म्यानमार, संयुक्त अरब इमिरेट्स, नर्वे, फिनल्यान्ड, मलेसिया र ब्राजिलका प्रतिनिधिमण्डलसँग सामूहिक छलफल गरेका थिए।

परराष्ट्र मामिलाका जानकारहरूका अनुसार प्रधानमन्त्री शाहले अपनाएको यो अभ्यासले व्यक्तिकेन्द्रित कूटनीतिभन्दा संस्थागत र राज्य–केन्द्रित कूटनीतिक संयन्त्रलाई प्राथमिकता दिने संकेत गरेको थियो। एडीबी अध्यक्षसँगको भेटले भने विकास साझेदारी, बहुपक्षीय वित्तीय सहयोग र आर्थिक सहकार्यका विषयलाई केन्द्रमा राख्दै त्यस अभ्यासमा व्यवहारिक लचकता आएको देखाएको उनीहरूको विश्लेषण छ।

भ्रमणका क्रममा दुई महत्वपूर्ण सम्झौताको तयारी

एडीबी अध्यक्ष कान्डाको नेपाल भ्रमणका अवसरमा नेपाल सरकार र एडीबीबीच दुई महत्वपूर्ण वित्तीय सम्झौतामा हस्ताक्षर हुने तयारी गरिएको छ।

पहिलो सम्झौता ५ करोड अमेरिकी डलर बराबरको नीतिगत ऋणसम्बन्धी हुनेछ। यसबाट भन्सार प्रशासनको आधुनिकीकरण, व्यापार सहजीकरण तथा रोजगारी प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस्तै ११ करोड ५० लाख अमेरिकी डलर बराबरको एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्रीय) आयोजनासम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुने सम्भावना छ। आयोजनाअन्तर्गत जलवायु–अनुकूल खानेपानी सेवा विस्तार, शहरी सरसफाइ सुधार, ढल व्यवस्थापन, फोहोरमैला तथा लेदो व्यवस्थापनका पूर्वाधार विकास गरिने लक्ष्य राखिएको छ।

नेपाल भ्रमणका क्रममा कान्डाले एडीबीको लगानीमा सञ्चालन भइरहेका विभिन्न विकास आयोजनाको स्थलगत निरीक्षणसमेत गर्ने कार्यक्रम रहेको छ।

गुप्तचरलाई प्रधानमन्त्री मातहत राख्ने कानुन ल्याउँदै सरकार

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याइएको राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर निकाय)लाई कानुनी रूपमा पनि प्रधानमन्त्री कार्यालयअन्तर्गत नै राख्ने तयारी सरकारले अघि बढाएको छ।

सरकारले नेपाल विशेष सेवा ऐन, २०४२ संशोधन गर्दै कार्यविभाजन नियमावलीमार्फत गरिएको व्यवस्थालाई कानुनी मान्यता दिन लागेको हो। यसअघि नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ मार्फत गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याइएको थियो।

प्रस्तावित संशोधनमार्फत विभागको संरचनागत हैसियतलाई ऐनमै समेट्ने तयारी गरिएको हो। यससँगै गुप्तचर निकायको प्रशासनिक जिम्मेवारी नियमावलीबाट मात्रै नभई कानुनबाटै सुनिश्चित हुने अपेक्षा गरिएको छ।

नेपाल विशेष सेवा ऐनमा यसअघि पनि विभिन्न समयमा संशोधन हुँदै आएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ मार्फत ऐनको दफा ४(१) संशोधन गरी राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राखेको थियो।

त्यसअघि विभाग गृह मन्त्रालय मातहत सञ्चालन हुँदै आएको थियो। पछि सरकारले पुनः विभागलाई गृह मन्त्रालयमै फर्काएको थियो। पछिल्लो पटक कार्यविभाजन नियमावली, २०८३ मार्फत फेरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत ल्याइएको व्यवस्था अब ऐनमै समावेश गर्न लागिएको हो।

सरकारका अनुसार विधेयक पारित भएपछि राष्ट्रिय अनुसन्धान विभागको प्रशासनिक तथा संस्थागत हैसियत कानुनी रूपमा स्पष्ट हुने छ।