`

करेन्ट लागेर तनहुँमा एकजनाको मृत्यु

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–४ गड्यौलीटारमा करेन्ट लागेर एक छात्राको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही स्थान निवासी १५ वर्षीया निर्मला कुमाल रहेकी छन् । कुमाल महेन्द्रज्योति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत थिइन् ।

सोमबार रुखमा घाँस काट्ने क्रममा हाइटेन्सन लाइनमा छोइँदा कुमाल सख्त घाइते भएकी थिइन् । कुमालको बेलचौतरास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

त्रिविका उपकुलपतिको सचिवालय तोडफोड गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको सचिवालय तोडफोड गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार तोडफोडमा संलग्न भएको आरोपमा भक्तपुरबाट दिक्पाल कार्कीलाई पक्राउ गरेको गरिएको परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए । उनी सानोठिमी क्याम्पसका स्ववियु सचिव हुन् ।

जेठ १४ गते उपकुलपति सचिवालयमा एक सूमहले तोडफोड गरेको थियो। उनीहरू नेविसंघ आवद्ध विद्यार्थीहरू थिए। स्नातक तहको भर्ना पुनः खोल्न माग गर्दै उनीहरूले तोडफोड गरेका थिए।

तेस्रो रुकम कप भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकालीलाई

त्रिवेणी । तेस्रो रुुकम कप भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकालीले जितेको छ । मुसिकोट नगरपालिका–१ खलङ्गामा सम्पन्न फाइनल खेलमा बौदीकालीले रुकुम पश्चिमको हाम्रो सरोकार टोलीलाई पराजित गरेको हो ।

बौदीकालीले फाइनलमा हाम्रो सरोकारलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । बौदीकालीमा राष्ट्रिय स्तरको प्रतियोगिता खेलिसकेका हिमाल सुनारी, सरोज बर्देवा र राजन दर्लामी मगर तथा हाम्रो सरोकारमा धनबहादुर भट्ट, विष्णु बस्नेत र मनोज घिमिरे सम्मिलित थिए ।

उपाधिसँगै बौदीकालीले ५ लाख ११ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बुढाले जानकारी दिए । यसैगरी उपविजेता नवलपुरको हाम्रो सरोकारले २ लाख ६१ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

रुकुम पश्चिमको ‘टिम खनाल’ तेस्रो तथा सल्यानको वनगाड कुपिण्डेले सान्त्वना पुरस्कार प्राप्त गरेको छ । दुवै टोलीले क्रमशः एक लाख ५१ हजार र रु एक लाख ११ हजार पुरस्कार प्राप्त गरे । । प्रतियोगितामा सात टोलीले प्रतिस्पर्धा गरेका थिए ।

महिलातर्फ रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले उपाधि जितेको छ । फाइनल खेलमा रुकुम पूर्वको जनज्योति युवा विकास केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गर्यो । उसले योसँगै एक लाख नगदसहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

उपविजेता जनज्योतिले ७५ हजार, तेस्रो भएको रुकुम भलिबल टोलीले ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । चौथो भएको रुकुम पूर्वको सीमा भलिबल क्लबले २५ हजार पुरस्कार प्राप्त गरेको आयोजक संस्थाले जनाएको छ ।

भेरीमा २७० मेगावाटको अर्धजलाशययुक्त आयोजना निर्माण गरिने

काठमाडौं ।  जाजरकोटको नलगाढ नगरपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाबिचमा रहेको भेरी नदीमा २७० मेगावाटको अर्धजलाशयुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ। चिनियाँ गेजुवा कम्पनीले जाजरकोट जिल्लाको नलगाढ नगरपालिका– १०, ११, १२, १३ र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ४, ५ र ६ मा २७० मेगावाटको भेरी– १ अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो ।

उक्त आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमाथि आज वन तथा वातावरण मन्त्रालयमा छलफल गरी राय सुझाव लिइएको छ । वातावरण संरक्षण ऐन, २०७६ ले तोकेको राय सुझाव समितिको बैठकमा मन्त्रालयका सहसचिव धीरेन्द्रकुमार प्रधानले स्थानीय जैविक विविधता, स्थानीय तथा आदिवासी जनताको जीविकोपार्जनलाई कम असर गर्ने गरी प्रस्तावित आयोजना निर्माणलाई अगाडि बढाउनुपर्ने बताए ।

बैठकमा राय सुझाव समितिका सदस्यसचिव एवं मन्त्रालयका उपसचिव रमेश बस्नेतले वातावरणीय अध्ययन प्रतिवेदन औपचारिक मात्र नभई आयोजनाको दिगो सञ्चालनका लागि तयार पारिने वैज्ञानिक एवं कानुनी दस्ताबेज भएको बताए। उनले यस्ता दस्ताबेज बनाउँदा प्रस्ताव सिफारिस गर्ने निकाय वा मन्त्रालयले यसको गुणस्तरलाई ख्याल गर्दै स्वीकृतिका लागि समयभित्रै वन मन्त्रालयमा पेस गर्नुपर्ने उल्लेख गरे ।

बैठकमा भौतिकविज्ञ शिवराज अधिकारी, जैविकविज्ञ गोपालकुमार श्रेष्ठ, सामाजिक, आर्थिक र सांस्कृतिकविज्ञ राजनऋषि कँडेल र माछाविज्ञ सन्तोषी श्रेष्ठलगायत अन्य विषयगत निकायका प्रतिनिधिले प्रतिवेदनउपर राय सुझाव दिएका थिए। उक्त आयोजनाको वातावरणीय अध्ययन गरिरहेको एनआरएसीका कार्यकारी निर्देशक डा. ज्योतिप्रसाद गजुरेलले आयोजना निर्माणका क्रममा २४.७५ हेक्टर जग्गाको प्रयोग हुने जानकारी दिए। उक्त आयोजना निर्माण गर्दा १५२ रुख काट्नुपर्ने आवश्यक देखिएको डा. गजुरेलले बताए।

उनले ६ घण्टासम्म पानी जम्मा गर्ने गरी निर्माण गर्न लागिएको उक्त आयोजनाको ३८ मिटर अग्लो बाँध निर्माण हुने बताए। पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढाउन लागिएको उक्त आयोजना रु. ४६ अर्ब लागतमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

आयोजनाको रुकुम पश्चिमको आठबिसकोट गाउँपालिकास्थित ज्यामिरेमा पावरहाउस बन्नेछ भने सात किलोमिटरको टनेल बन्ने बताइएको छ। उक्त आयोजना स्थलमा पुग्नका लागि मुख्य बाटोबाट ११ किलोमिटरको सहायक बाटो निर्माण गर्नुपर्ने जनाइएको छ। उक्त नदीमा तीनवटा बेलिब्रिजसमेत निर्माण गर्नुपर्ने उल्लेख छ।

एआई साक्षरताको अपरिहार्यता

–लिलाराज भट्टराई

मेरी आमा लेखपढ गर्न जान्नुहुन्न तर सामाजिक सञ्जाल फेसबुकमा आफैं फोटो र स्टाटस लेखेर पोष्ट गर्नुहुन्छ । हातले लेख्न आउँदैन तर मुखले लेख्नुहुन्छ अर्थात् बोलेर लेख्नुहुन्छ । मलाई ग्राफिक डिजाइन पटक्कै आउँदैन तर मलाई आवश्यक पर्ने ग्राफिक डिजाइन म आफैँ बनाउँछु । कहिलेकाहीँ छक्क पर्छु यो मैले नै बनाएको हो त ?

मलाई पोडकाष्ट बनाउने रहर थियो । पूरा हुन पाएको थिएन । अहिले म पोडकाष्ट बनाउँछु । म चाहिँ बोल्दिन । मेरोभन्दा कैयौँ गुणा राम्रो आवाज भएका प्रस्तोता छन् । तर उनीहरु मान्छे होइनन् । एआईले नै पोडकाष्ट बनाइदिन्छ नेपाली भाषामै ।

कहीँ केही विषयमा प्रस्तुति गर्नुप¥यो भने तुरुन्त मिनेटमा गुणस्तरीय प्रस्तुति तयार गर्छु । यी त साधारण र आधारभूत उदाहरण मात्र हुन् । एआई साक्षर बन्न सक्दा हिजो जान्दै नजानेका, जानेर पनि गर्न नसकेका, गर्दा पनि महिनौँ लाग्ने काम अहिले एआईले मिनेटभरमै गर्न थालेको छ । त्यसैले एआई साक्षरता अहिलेको आवश्यकता हो ।

मानव सभ्यताको विकासक्रममा ‘साक्षरता’ को परिभाषा निरन्तर विकसित हुँदै आएको छ । विगतमा अक्षर चिन्ने, पढ्न र लेख्न जान्ने व्यक्तिलाई ‘साक्षर’ भनिन्थ्यो । तर, प्रविधिको द्रूत विकासले यो परम्परागत परिभाषालाई चुनौती दिएको छ । आजको युगमा प्रविधि हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग बनिसकेको छ । स्मार्टफोनदेखि स्मार्ट घरसम्म, प्रविधिले हाम्रो जीवनशैलीलाई पूर्ण रूपमा रूपान्तरण गरिरहेको छ । यसैले, अब साक्षरताको परिभाषा पनि बदलिएको छ । पढ्न–लेख्न जानेर मात्र पुग्दैन, प्रविधिमा साक्षर बन्नु अपरिहार्य भएको छ । र, यसको केन्द्रमा छ–आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकता ।

आगामी दिनहरूमा एआई साक्षरता आवश्यकता मात्र होइन, अनिवार्य बन्ने अवस्था सिर्जना हुँदैछ । अबको जमानामा साँचो साक्षरता भन्नाले डिजिटल र कृत्रिम बौद्धिकताको उपयोग गर्नसक्ने क्षमतालाई मानिनेछ । जसरी विगतमा हाम्रा पुर्खाहरू साक्षर नहुँदा पीडा भोग्नुप¥यो, त्यसैगरी अहिलेका युवापुस्ता एआई साक्षर नबन्दा आगामी केही वर्षमै रोजगारी, शिक्षा र सूचनाका नयाँ ढोकाहरूबाट वञ्चित हुनेछन् ।

एआई के हो ?

एआई, अङ्ग्रेजी शब्द ‘आर्टिफिसियल इन्टेलिजेन्स’ को सङ्क्षिप्त रूप हो, जसलाई नेपालीमा ‘कृत्रिम बुद्धिमता’ वा ‘कृत्रिम बौद्धिकता’ भनिन्छ । शाब्दिक रूपमा हेर्दा यो मानिसले सिर्जना गरेको बौद्धिकता हो । मानव जाति मात्र यस्तो प्राणी थियो जसमा सिक्ने, बुझ्ने, सोच्ने, विचार गर्ने र निर्णय गर्ने क्षमता थियो । यही क्षमताका कारण मानव सभ्यताले आजको स्वरूप प्राप्त गरेको हो । जब मानिसमा रहेको यही क्षमतालाई मेसिनले अनुकरण गरी मानिसले जस्तै सोच्ने, बुझ्ने, विचार गर्ने र आफैँ निर्णय गर्न सक्ने बनाइयो, त्यसलाई कृत्रिम बौद्धिकता भनिन्छ । सरल शब्दमा भन्नुपर्दा बुद्धि भएको मेसिन नै एआई हो ।

हालै क्यानडाले पूर्वरेडियो पत्रकार इभान सोलोमनलाई ‘एआई मन्त्री’ बनाएको घटनाले विकसित राष्ट्रहरूले एआईलाई कति गम्भीरताका साथ लिएका छन् भन्ने स्पष्ट पार्छ । नेपालमा पनि हालै प्रस्तुत बजेटमा एआईलाई सम्बोधन गरिएको छ ।

हाम्रो मोबाइल, अफिस, गाडी र घरहरुसम्म एआई समावेश भइसकेको छ  । हामी जानेर वा नजानेर एआईको प्रयोग गरिरहेका छौँ । केही समयमै एआई हाम्रो जीवनको अभिन्न अङ्ग बन्दैछ । एआईको नयाँनयाँ आविस्कारले संसारसँग हाम्रो अन्तरक्रियाको तरिका नै परिवर्तन गरिदिएको छ । शिक्षा, स्वास्थ्य, यातायात, कृषि, पर्यटन, प्रशासन, मनोरञ्जन, सुरक्षा लगभग हरेक क्षेत्रमा एआईको प्रयोग तीव्र गतिमा बढिरहेको छ । यसको सबैभन्दा महत्वपूर्ण पक्ष यो हो कि यसले मानवले महिनौँ लगाएर गर्न नसक्ने काम मिनेटमै सम्पन्न गरिदिन्छ । मानिस थाक्छ, तर मेसिन भएकाले एआई थाक्दैन ।

स्वास्थ्य क्षेत्रमा क्रान्ति :  एआईले स्वास्थ्य क्षेत्रमा अभूतपूर्व क्रान्ति ल्याइरहेको छ । कोरोना भ्याक्सिनको तीव्र विकासमा एआईको भूमिका महत्वपूर्ण थियो । बेलायतमा मुटु रोग चाँडै पत्ता लगाउन र मधुमेहको स्तर स्वचालित रूपमा नियन्त्रण गर्न एआईको प्रयोग भइरहेको छ । क्यान्सरलगायतका असाध्य रोगहरूको निदान र उपचारमा पनि एआईले चिकित्सकहरूलाई सशक्त साथ दिइरहेको छ ।

यातायातमा प्रगति : चालकविहीन कारहरू अहिले विश्वभरका सडकहरूमा गुडिरहेका छन् । गुगल जस्ता कम्पनीहरूले पनि चालकविहीन सवारीसाधनको विकासमा ठूलो लगानी गरिरहेका छन् । यसले यातायात प्रणालीलाई सुरक्षित र प्रभावकारी बनाउने सम्भावना बोकेको छ ।

मिडिया र सञ्चारमा रूपान्तरणः मिडिया क्षेत्रमा समाचार उत्पादन, प्रशोधन, प्रकाशन र प्रसारणमा एआईले सहयोग पुर्याइरहेको छ । मानिसजस्तै देखिने एआई एङ्करहरूले समाचार र कार्यक्रम प्रस्तुत गर्ने क्रम बढ्दो छ, जसले सञ्चारमाध्यमको भविष्यलाई नयाँ दिशा दिइरहेको छ ।

कृषिमा उत्पादकत्व वृद्धिः भारतको तेलङ्गानामा एआई प्रयोग गरेर खेती गर्दा उत्पादनमा उल्लेखनीय वृद्धि भएको पाइएको छ । एआईले माटोको अवस्था विश्लेषण गर्ने, बालीको  निगरानी गर्ने र सिँचाइ तथा मलको आवश्यकता निर्धारण गर्ने जस्ता कार्यहरूमा किसानहरूलाई मद्दत गर्छ ।

निर्णय निर्माण र प्रशासनः एआईलाई सल्लाहकारका रूपमा राख्ने क्रम बढ्दो छ । भारतको विद्यालयमा एआईले शिक्षकले भन्दा गुणस्तरीय ढङ्गले पढाउने गरेको छ । अब एआईले के गर्छभन्दा पनि ‘एआईले के चाहिँ गर्दैन?’ भन्ने समय आउँदैछ ।

एआई साक्षरता के हो त ?

जसरी अक्षर चिन्ने, पढ्न, लेख्न र जान्नेलाई ‘साक्षर’ भनिन्छ, त्यसैगरी, एआई बुझ्ने, जान्ने र प्रयोग गर्नेलाई ‘एआई साक्षर’ भनिन्छ । यो एआईको जमाना हो । एआई हाम्रो जीवनको सबै पक्षहरुमा पसिरहेको छ । त्यसैले पढ्न–लेख्न जानेर मात्र पुग्दैन, प्रविधिमा पनि साक्षर बन्नै पर्छ । प्रविधिमा साक्षर नबने अबको जमानामा अघि बढ्न सकिँदैन । जो अपडेट हुँदैन, ऊ आउटडेट हुन्छ ।

एआई साक्षर भनेको एआई विज्ञ बन्नु भनेको होइन । तर, यति चाहिँ जान्नुपर्छः एआई के हो ? एआईले के गर्छ ? एआईका के कस्ता उपकरणहरू (टुल्स) आएका छन् र तिनीहरूलाई कसरी प्रयोग गर्न सकिन्छ ? एआई प्रयोगका सीमाहरू के छन् ? यसका चुनौतीहरूलाई कसरी सामना गर्ने ? एआई साक्षर नभई सुरक्षित, नैतिक र जिम्मेवार ढङ्गले एआई प्रयोग गर्न सकिँदैन । कुन गलत र कुन सही छुट्याउन पनि सकिँदैन । ‘डिपफेक’ जस्ता प्रविधिले सजिलै झुक्याउन सक्छ । एआई साक्षर भएपछि एआईद्वारा सिर्जित सूचनाको विश्लेषण गर्न सकिन्छ । त्यसैले एआई साक्षरता भनेको एआई प्रणालीहरुले कसरी काम गर्छन्, तिनीहरुले हाम्रो जीवनमा के र कसरी प्रभाव पार्छन् र एआईलाई सुरक्षित, नैतिक र प्रभावकारी रुपमा कसरी प्रयोग गर्न सकिन्छ भनेर बुझ्ने र एआईको विकासमा सहभागी हुन सक्ने क्षमता हो । एआई साक्षरता भनेको केवल प्रविधि सिक्नु मात्र होइन यो एउटा जीवनोपयोगी क्षमता पनि हो । जसरी हामीले पढ्न–लेख्न सिकेपछि संसार बुझ्न सक्यौँ । त्यस्तै, एआई बुझ्न सकेपछि हामी डिजिटल युगमा जिम्मेवार नागरिक बन्न सक्छौँ ।

एआई साक्षरता किन आवश्यक छ ?

एआई हाम्रो दैनिक जीवनमा प्रवेश गरिसकेको छ । दैनिक जीवनलाई सरल, सहज र दु्रत बनाउन, समय बचाउन एआई साक्षरता आवश्यक छ । एआई साक्षरताले गलत जानकारीबाट बचाउँछ । चाहिएका जानकारी छिनको छिनमै पाउन सकिन्छ । एआई प्रणाली पनि पूर्वाग्रही हुन सक्छन् त्यो थाहा पाउन पनि एआई साक्षर बन्न जरुरी छ । एआई साक्षर बनेपछि आफ्नो काम र करियरमा अनेकौँ नयाँ ढोका खोल्न सकिन्छ । एआई साक्षरताले नागरिकको सक्रियता बढाउँछ । एआई साक्षर भनेको डिजिटल लोकतन्त्रको आधार हो ।

एआई साक्षर नबन्दा के हुन्छ ?

१. रोजगारी गुमाउने खतरा र अवसरको वञ्चितता : एआईले धेरै क्षेत्रका लाखौँ रोजगारी खोस्ने त्रास बढेको छ । तर, वास्तविकता के हो भने एआईले रोजगारी खोस्दैन मात्र, त्योभन्दा कैयौँ गुणा बढी नयाँ रोजगारीहरू सिर्जना पनि गर्छ तर, त्यसका लागि एआई साक्षर हुनुपर्छ । एआई नजान्नेको जागिर जान सक्छ र नयाँ अवसरहरू नपाउने सम्भावना रहन्छ । भविष्यको श्रम बजारमा एआई साक्षरता एक आधारभूत योग्यता बन्नेछ ।

२. शिक्षामा पछि परिने : विकसित देशहरूले एआईमा आधारित शिक्षण प्रक्रिया अपनाएर सिकाइ कार्यलाई कैयौँ गुणा प्रभावकारी बनाएका छन् । उनीहरूले विद्यालय तहदेखि नै एआई पाठ्यक्रम विकास गरेका छन् र विद्यार्थीहरूलाई नैतिक रूपमा एआई उपकरणहरू प्रयोग गर्न अनुमति दिएका छन्, जसले गर्दा उनीहरूको शिक्षाको स्तर उकासिएको छ । एआई साक्षर नबने सो अवसरबाट हामी वञ्चित बन्नेछौँ र विश्व शैक्षिक प्रतिस्पर्धामा पछि पर्नेछौँ ।

३. सूचना र समाचारमा भ्रम :  भारत, पाकिस्तान र अमेरिकामा भएका चुनावहरूमा एआईले बनाएका ‘डिपफेक’ भिडियोका कारण हजारौँ मानिस गलत समाचारले प्रभावित भए । एआई साक्षर नबन्दा कुन सही समाचार र कुन गलत हो भनेर छुट्याउन सकिँदैन । गलत सूचना र दुष्प्रचारले समाजलाई गलत दिशानिर्देश गर्नेछ । एआई साक्षरताले मात्र हामीलाई डिजिटल युगमा आलोचनात्मक सोचका साथ सूचनाको उपभोग गर्न सिकाउँछ ।

४. प्रविधिको उपभोक्ता मात्र बन्ने : यदि हामी एआई साक्षर बन्न सकेनौँ र एआईलाई पाठ्यक्रममै समावेश गरी युवा पुस्तालाई साक्षर बनाउने काममा लागेनौँ भने हामी प्रविधिको उपभोक्ता मात्रै बन्नेछौँ, निर्माता र नीति निर्माता बन्ने अवसर कहिल्यै पाउने छैनौँ । यसले राष्ट्रिय स्वायत्तता र आर्थिक विकासमा समेत नकारात्मक असर पार्नेछ ।

नीति निर्माण : एआईको विकास, नियमन र साक्षरतालाई प्रवद्र्धन गर्ने स्पष्ट राष्ट्रिय नीतिहरू निर्माण गर्नुपर्छ । यसमा डेटा गोपनीयता, नैतिक एआई प्रयोग र साइबर सुरक्षा जस्ता पक्षहरू समेटिनुपर्छ ।

अबको जमानामा अक्षर मात्र होइन, एआई बुझ्नु नै साँचो साक्षरता हुँदैछ । भविष्यमा एआई नजान्ने व्यक्तिलाई ‘नयाँ अशिक्षित’ का रूपमा हेरिनेछ । हामी अहिलेदेखि नै नीतिगत ढङ्गबाटै एआई साक्षरता र एआईको विकासमा अघि नबढे भविष्यमा डिजिटल दास मात्र बन्नुपर्नेछ, डिजिटल नेतृत्व गर्न सक्ने छैनौँ । ‘हैट, एआई त नसिकी नहुने रहेछ !’ भन्ने भावना हरेक नेपालीमा जागृत हुनुपर्छ, किनकि यही नै हाम्रो भविष्यको आधार हो ।

के गर्ने त ?

एआई साक्षरता हासिल गर्न र यसको अधिकतम लाभ उठाउनका लागि निम्न कदमहरू चाल्नु अपरिहार्य छ :

विद्यालय तहदेखि नै साक्षरता : प्राथमिक शिक्षादेखि नै एआईका आधारभूत अवधारणाहरू र यसको प्रयोगबारे पाठ्यक्रममा समावेश गर्नुपर्छ ।

युवा तथा व्यवसायी लक्षित तालिम : विभिन्न पेसा र उमेर समूहका लागि एआईका उपकरणहरू प्रयोग गर्ने व्यावहारिक तालिमहरू सञ्चालन गर्नुपर्छ ।

सार्वजनिक सचेतना अभियान :  एआईका फाइदा, जोखिम र नैतिक प्रयोगबारे जनचेतना फैलाउने अभियानहरू सञ्चालन गर्नुपर्छ । यस प्रकार कम्तीमा एआई साक्षर बन्न र बनाउन ढिला गर्नु हुँदैन ।

(लेखक इटहरिमा रहेर पत्रकारिता गर्नुहुन्छ)

नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने

काठमाडौँ । नेपाली साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद गरी चीनमा बिक्री वितरणका लागि छनोट गरिएको छ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जनवादी गणतन्त्र चीनको नेसनल एडमिनिस्ट्रेसन अफ प्रेस एन्ड पब्लिकेसनबीच सहमति भएको हो ।

दुई देशका शास्त्रीय ग्रन्थ अनुवाद एवं प्रकाशनसम्बन्धी भएको द्विपक्षीय समझदारीपत्रअनुरूप नेपाली साहित्यका १३ कृति छनोट भएको नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको २०८० सालमा भएको भ्रमणका क्रममा नेपालको संस्कृति मन्त्रालय र चीनको पब्लिकेसनबीच सम्झौता भएको थियो । सम्झौताअनुसार लक्ष्मीप्रसाद देवकोटाको ‘लक्ष्मी निबन्ध सङ्ग्रह’, दौलतविक्रम विष्टको ‘चपाइएका अनुहार’, भीष्म उप्रेतीको ‘हिमाल, शेर्पा र यति’, बाबुराम आचार्यको ‘नेपालको सङ्क्षिप्त वृत्तान्त’, डा हर्क गुरुङको ‘मैले देखेको नेपाल’, ध्रुवचन्द्र गौतमको ‘अलिखित’, डा राजु अधिकारीको ‘यस्तो होस् जीवनशैली’, सरुभक्तको ‘चुली’, सुलोचना मानन्धरको ‘जीवनबाट जीवन सिकौं’, सत्यमोहन जोशीको ‘कलाकार अरनिको’, मन्जुलको ‘जाने होइन दाइ आलापोट ?’, जनकलाल शर्माको ‘हाम्रो समाज एक अध्ययन’ र डोरबहादुर विष्टको ‘सबै जातको फूलबारी’ छनोटमा परेका छन् ।

चिनियाँ १३ कृति नेपालीमा अनुवाद हुने

यसैगरी, चिनियाँ १३ वटा पुस्तक पनि नेपाली भाषामा अनुवाद गरी प्रकाशनका लागि छनोट भएको छ । ‘सी चिनफिङ थट अन सोसलिजम विथ चाइनिज क्यारेक्टरिस्टिक्स फर अ न्यु एरा’, ‘सेभेन्टी इयर्स अफ न्यु चाइना’, ‘द ओरिजिन्स अफ चाइनिज सिभिलाइजेसन’, ‘द एनोटेटेड क्रिटिकल लाओजी’, ‘सेलेक्टेड स्टोरिज अफ जिया दसान’, ‘ह्वाई एन्ड हाउ द सीपीसी वर्क्स इन चाइना’, ‘ह्वाइट डिअर प्लेन’, ‘रेड सर्गम’, ‘ट्रान्सलेसन एन्ड एनोटेसन अफ द बुक यक चुआङ्जी’, ‘द स्ट्र हाउस’, ‘द म्याजिक गर्ड’, ‘इस्टर्न एन्ड वेस्टर्न कल्चर्स एन्ड फिलोसफिज’ र ‘अ ब्रिफ हिस्ट्री अफ एन्सिएन्ट चाइनिज आर्किटेक्चर’ छनोट भएको प्रतिष्ठानले जनाएको छ ।

अनेरास्ववियुमा नेतृत्वका लागि जुटेन सहमति, भोलि निर्वाचन

काठमाडौं । नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुमा सहमति नजुटेपछि निर्वाचन हुने भएको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार, आजै ३ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता फारम वितरण गर्ने, ४ देखि ६ बजेसम्म दर्ता गर्ने उल्लेख छ ।

बन्द सत्रमा अध्यक्ष मण्डलले सर्वसम्मतिका लागि भन्दै डा. सुजन कडरिया, उपाध्यक्ष प्रकाश पौडेल र अन्जना शिवाकोटी साथै महासचिव दीपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरे पनि सहमति नजुटेपछि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो ।

पोसम, छेपारो र ट्यारान्टुलासहित भारतीय तस्कर पक्राउ

मुम्बई । भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक यात्रुबाट लुप्तप्राय वन्यजन्तुहरूको पछिल्लो ‘महत्त्वपूर्ण’ जफत गरेको सरकारी वक्तव्यले जनाएको छ । जफत गरिएका वन्यजन्तुहरूमा छेपारो, सनबर्ड र रूखमा चढ्ने पोसमसहित झन्डै एक सय जीवजन्तु थिए ।

भन्सार अधिकारीहरूका अनुसार दुई ट्यारान्टुला माकुरा र कछुवा समेत बोकेका यात्रुले भारतको वित्तीय राजधानी मुम्बई आइपुग्दा ‘घबराहटका सङ्केतहरू प्रदर्शन गरेका थिए’ । जुन महिनाको सुरुमा थाइल्यान्डबाट पनि आएका दर्जनौँ विषालु भाइपरहरू तस्करी गर्नबाट एक यात्रुलाई रोकेपछि यो जफत गरिएको हो ।

जफत गरिएका वन्यजन्तुहरूमा इगुआनासका साथै किन्काजौ वा हनी बियर–मेक्सिकोको वर्षावनबाट आएको सानो रेकुन जस्तो जनावर–साथै अस्ट्रेलियामा फेला परेको ग्लाइडिङ पोसम, छवटा ‘सुगर ग्लाइडर’ समावेश छन् । भन्सार एकाइले जारी गरेको तस्बिरहरूमा छवटा सुगर ग्लाइडर टोकरीमा सँगै बसेका र छेपारोले भरिएको बक्स पनि देखाइएको छ ।

‘एउटा महत्त्वपूर्ण कारबाहीमा भन्सार अधिकारीहरूले… एक भारतीय नागरिकलाई रोके… जसले गर्दा धेरै जीवित र मृत वन्यजन्तु प्रजातिहरू जफत गरियो, तीमध्ये केही वन्यजन्तु संरक्षण कानून अन्तर्गत संरक्षित छन्’, वित्त मन्त्रालयले सोमबार राति एक विज्ञप्तिमा भन्यो ।

जङ्गली जनावर र बोटबिरुवाको तस्करीसँग लड्ने वन्यजन्तु व्यापार मोनिटर ट्राफिकले मङ्गलबार विदेशी घरपालुवा जनावरको व्यापारद्वारा सञ्चालित तस्करीमा ‘धेरै चिन्ताजनक’ प्रवृत्तिको चेतावनी दिएको छ । पछिल्लो साढे तीन वर्षमा थाइल्यान्ड–भारत हवाई मार्गमा सात हजारभन्दा बढी जीवित र मृत जनावर जफत गरिएको छ ।

मुम्बई विमानस्थलका भन्सार अधिकारीहरू तस्करी गरिएको सुन, नगद वा गाँजा जफत गर्न बढी अभ्यस्त छन्, तर हालै वन्यजन्तु जफत गर्ने घटनाहरूमा क्रमिक वृद्धि देखिएको छ । भन्सार अधिकारीहरूले जुनको सुरुमा थाइल्यान्डबाट उडेको एक भारतीय नागरिकबाट दर्जनौँ सर्प र धेरै कछुवा जफत गरेका थिए ।

तिनीहरूमा धेरै स्पाइडर–टेल्ड हन्र्ड भाइपरहरू थिए । स्पाइडर–टेल्ड हन्ड भाइपर विषालु प्रजाति हो जसलाई वैज्ञानिकहरूले सन् २००६ मा मात्र वर्णन गरेका थिए र प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयुसिएन) द्वारा ‘लुप्तप्रायको नजिक’ भनेर वर्गीकृत गरिएको छ ।

ट्राफिकले आफ्नो विश्लेषणले अधिकांश मामिलामा थाइल्यान्डबाट तस्करी गरिएका जनावरहरू समावेश भए पनि ८० प्रतिशतभन्दा बढी अवरोधहरू भारतमा भएको देखाएको छ ।

‘भारतमा आउने मार्गमा वन्यजन्तुको लगभग साप्ताहिक खोज र विविधता निकै चिन्ताजनक छ’, ट्राफिकको दक्षिणपूर्वी एसियाका निर्देशक कनिथा कृष्णसामीले भने, ‘पक्राउ परेकामध्ये धेरै जीवित थिए, जसले विदेशी घरपालुवा जनावरहरूका लागि हाहाकारले व्यापारलाई चलाइरहेको देखाउँछ ।’

फेब्रुअरीमा मुम्बई विमानस्थलमा भन्सार अधिकारीहरूले इन्डोनेसिया, मलेसिया र थाइल्यान्डको जङ्गलमा पाइने सानो बाँदर, पाँच सियामाङ गिब्बनसहित एकजना तस्करलाई पनि रोकेका थिए । भन्सार अधिकारीहरूका अनुसार आइयुसिएनले लुप्तप्राय भनेर सूचीबद्ध गरेको ती साना जीवरू यात्रुको ट्रली ब्यागभित्र राखिएको प्लास्टिकको क्रेटमा ‘कुशलतापूर्वक लुकाइएको’ थियो ।

नोभेम्बरमा अधिकारीहरूले १२ वटा कछुवाको जीवित कार्गो बोकेका एक यात्रुलाई भेट्टाएका थिए ।

अमेरिकासँग इरानको नयाँ आणविक वार्ता योजना

तेहरान । इरानको विदेश मन्त्रालयले संयुक्त राज्य अमेरिकासँग आइतबार नयाँ चरणको आणविक वार्ता गर्ने योजना बनाएको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार वार्ता हुने अपेक्षा गरेको बताएपछि इरानको यो भनाइ आएको हो।

‘इरान–अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण आइतबार मस्कटमा हुने छ,’ विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले मंगलबार विज्ञप्तिमा भने। उनका अनुसार विदेशमन्त्री अब्बास अराघचीले यस हप्ता नर्वेको ओस्लो फोरममा भाग लिनेछन्। ओस्लो फोरम द्वन्द्व मध्यस्थकर्ताहरूको भेला हो।

इरान र अमेरिकाले अप्रिलदेखि पाँच चरणको वार्ता गरेका छन्। यी वार्ताले सन् २०१५ को सम्झौताको ठाउँमा नयाँ आणविक सम्झौता गर्न खोजेका छन्। सन् २०१५ को सम्झौता ट्रम्पले सन् २०१८ मा त्यागेका थिए। मे ३१ मा पाँचौँ चरणको वार्तापछि इरानले अमेरिकी प्रस्तावका ‘तत्वहरू’ प्राप्त गरेको बताएको थियो। अराघचीले पछि उक्त पाठमा ‘अस्पष्टताहरू’ रहेको भने।

इरानले सोमबार अमेरिकी प्रस्तावमा अघिल्लो वार्तालाई प्रतिबिम्बित गर्ने ‘तत्वहरूको अभाव’ रहेको र ओमानमार्फत अमेरिकालाई ‘उचित, तार्किक र सन्तुलित’ प्रति–प्रस्ताव दिने बताएको छ। ट्रम्पले सैन्य कारबाहीबाट बच्न आणविक सम्झौता सम्भव छ कि छैन भन्ने कुरा यो हप्ताको वार्ताले स्पष्ट गर्न सक्ने बताएका छन्।

उनका अनुसार इरानसँगको पछिल्लो बैठक बिहीबार हुने अपेक्षा थियो। तर, तयारीसँग परिचित स्रोतले यो शुक्रबार वा शनिबार हुन सक्ने बताएको छ। इरान र अमेरिका हालै इरानको युरेनियम संवर्धनलाई लिएर कूटनीतिक गतिरोधमा छन्। तेहरानले यसलाई ‘गैर–सम्झौता योग्य’ अधिकार मानेको छ भने वासिङ्टनले यसलाई ‘लक्ष्मण रेखा’ भनेको छ।

इरानले हाल ६० प्रतिशत युरेनियम संवर्धन गरिरहेको छ। यो सन् २०१५ को सम्झौताको ३.६७ प्रतिशत सीमाभन्दा धेरै हो, तर आणविक हतियारका लागि चाहिने ९० प्रतिशतभन्दा कम छ।

अमेरिकासहित पश्चिमी देशहरूले इरानलाई आणविक हतियार बनाउन खोजेको आरोप लगाउँदै आएका छन्। तर, तेहरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण भएको दाबी गरेको छ।

पार्टीभित्र आन्तरिक लोकतन्त्रको असल अभ्यास हुनुपर्छ, त्यसमा चुकेका छौँः गोकुल बास्कोटा(अन्तरवार्ता)

काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाली राजनीतिमा हक्की र खरोस्वभाव तथा स्पष्ट वक्ताको बेग्लै परिचय बनाएका छन् ।

पत्रकारिताकै पृष्ठभूमि रहेका उनी प्रतिनिधिसभाका गएका दुवै निर्वाचनमा आफ्ना प्रतिस्पर्धीलाई भारी मतले हराउँदै विजयी भएका थिए ।

नेपालको संसदीय अभ्यास, संविधान संशोधन, सङ्घीयता, विकास निर्माण, युवाको विदेश पलायन, भ्रष्टाचार न्यूनीकरण, सुशासन प्रवद्र्धनलगायत समसामयिक विषयमा राससका प्रमुख समाचारदाता नारायण न्यौपानेले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

माननीयज्यू, अहिले केमा व्यस्त हुनुहुन्छ ? 

– अहिले संसद्मा बजेट अधिवेशन चलिराखेको छ । हाम्रो व्यस्तताको एउटा नियमितता छभने अर्काे आकस्मिक छ । नियमितताभित्र नियमित संसदीय काम कारबाही र राजनीतिक दलहरुसँग सम्बन्धित काम गर्छौं । मतदाता र नीति निर्माता भेट्छौँ । आस्मिक रुपमा नसोचेका कुरा पर्छ  । जस्तो अहिले सदन निरन्तर चल्नुपर्नेमा अवरोध भइराखेको छ । त्यस सम्बन्धित विषय, बजेट निर्माण र आफ्ना निर्वाचन क्षेत्रका जनताको आवाज उठाउने काम भइरहेको छ ।

मुलुकको संसदीय अभ्यासलाई कसरी हेर्नुभएको छ र कसरी जानु पथ्र्यो भन्ने लाग्छ ? 

–यसमा विश्लेषनात्मक पाटो जरुरत पर्दछ । हामीले तीनवटा राजनीतिक अभ्यास गर्यौं । एउटा जहानियाँ राणा शासन, अर्काे वंशको तन्त्र अर्थात् निरङ्कुशताभित्रको एक दलीय व्यवस्था र अहिले रोजेको हामीले लोकतन्त्र र गणतन्त्र छ । लोकतन्त्रको प्राप्तिपछि तत्कालीन सात राजनीतिक दल र सशस्त्र विद्रोहमा रहेको माओवादीले मुलुकलाई नयाँ प्रस्थान दिने कोसिस गर्यौं । राजनीतिक अभ्यासमा व्यवस्थाका हिसाबले यो राम्रो रह्यो तर यसका कैयन् चीजहरु अभ्यासले परिस्कृत हुनुपर्नेमा हामी ठाउँमा–ठाउँमा चुकियो । हामीले संसदीय अभ्यासमा सत्तापक्ष र प्रतिपक्षको आँखाले मात्र हरेक घटनालाई हेर्न कुरा दुःखद लाग्छ । मुलुकलाई आवश्यकता र जनताको चाहना, विश्व परिस्थिति र त्यससँगै दौडिनुपर्ने कुरातर्फ हाम्रो संसदीय अभ्यासले ध्यान पुर्याएको लाग्दैन । जसका निम्ति हामीले अझै केही समय पर्खिनुपर्छ । वा केही हण्डर र ठक्कर खाँदै अगाडि बढ्नुपर्छ ।

नेपालका अभ्यास गरिरहेको परराष्ट्र नीति र समाजवादसम्बन्धी अर्थव्यवस्थालाई कसरी  हेर्नुभएको छ ?

–अघिल्लो प्रश्नकै निरन्तरता भित्र यसलाई हेर्न सकिन्छ । हामीले राजनीतिक परिवर्तनलाई विचार, सङ्गठन, अभिव्यक्ति, फ्री प्रेसलाई मात्रै डेमोक्रेसीको बोर्डर फ्रेमवर्कलाई मात्र हेर्न हुँदैन थियो । सँगसँगै अब मुलुकको सामाजिक तथा आर्थिक रुपान्तरणतर्फ कता जाने भन्नेमा न्यूनतम राष्ट्रिय लक्ष्य निर्धारित हुनुपथ्र्यो, जहाँ मतभिन्नता होइन एकरुपता चाहिन्छ । मुलुकले विकासमा फड्को मार्नुपर्छ । त्यो समयको गतिलाई लिड गर्ने पनि क्षमता विकास गर्नुपर्छ । तर, मलाई लाग्दैन कि नेपालले तत्कालै विश्व समयको प्रगतिलाई लिड गर्न सक्छ ! तर हामी छुट्नु चाहिँ भएन । सँगसँगै कम्तीमा यात्रामा हुनुपथ्र्यो भन्ने हो । यसमा राजनीतिक दल चुकेका छन् । किनभने हाम्रो परराष्ट्र नीतिमा एकरुपता छैन । सरकार नै पिच्छे फरक छ । जुन कुरा अत्यन्त घातक र गलत छ । जनतामा नेपालको राजनीतिक प्रणालीले मार्गदर्शन गर्दै त्यही आधारमा चल्छ भन्ने मान्यता रहेन । हिजोजस्तै आज पनि दिल्ली, मस्को, बेइजिङ, वासिङटन र लन्डनको मानसिकता जीवित रहनाको कारण के हो ?  त्यसलाई पन्छाउन पथ्र्याे । त्यो उठ्नै नसक्ने गरी समाप्त गरिदिनुपथ्र्यो । यहाँ जे कुरा हुन्छ, नेपाली जनमत, राजनीतिक दलको स्वाभाविक अभ्यासबाट भएका हुन् भन्ने बुझाइ स्थापित हुनुपथ्र्यो । त्यो परराष्ट्र नीतिमा एकरुपता नहुनाको परिणती हो । परराष्ट्र नीतिका कुरा गर्दा खाली पञ्चशीलको एउटा फ्रेमवर्क मात्र छ । कतै न कतै भन्ने खाले कुरा अनुभूतिको माध्यम बनिराखेको छ । त्यो सत्यमा, अनुभूतिमा र आशङ्कामा कति आधारित छ ? त्यसलाई हटाउन गर्न सकेनौँ ।

अर्कातर्फ हामी सबैले समाजवाद भन्यौँ । तर, समाजवादको ढाँचा कस्तो हुने र केमा न्यूनतम सहमति गर्ने भन्नुको साटो सामाजिक सुरक्षामै अल्झिन्छौँ । सामान्य वृद्ध भत्ताका सन्दर्भमा समेत ६८ र ७० वर्षको उमेर हदमा अल्मलियौँ । स्वास्थ्य बिमामा फरक–फरक मान्यता छन् । शिक्षा र स्वास्थ्य राज्य र निजी क्षेत्रको दायित्व कति भनेर हेर्नपर्नेमा त्यो भएन । उद्योगमा समाजवाद अनि स्वास्थ्यमा पुँजीवाद  खोजियो भने  समाजवाद अपूर्ण हुन्छ ।

उत्पादनको क्षेत्रलाई बरु निजीतर्फ बढ्ता जोड दिनुपर्छ । केही चीजमा राज्यले समान न्याय, समान पहुँच, समान अवसर र समान भूमिका दिनुपर्ने हुन्छ । त्यहाँ समाजवाद झल्किनु पर्छ । त्यसमा राजनीतिक दलबीच मतभिन्नता छ ।

वर्तमान सरकार गठनको पृष्ठभूमिसँगै चर्चामा रहेको संविधान संशोधनको पाटोलाई कसरी हेर्नुभएको छ ?

– हामीले समावेशिता नेपालको अनिवार्य सर्त हो भनेका छौँ, तर समानुपातिक के हो ? त्यसको मोडालिटी कस्तो हुनुपर्ने ? राजनीतिक प्रणाली जुन अवलम्बन गरिन्छ त्यसअनुरुप पार्टीहरुको आन्तरिक राजनीतिक प्रणाली अवलम्बन गरिनु पर्दछ । त्यहाँ फरकपन देखिन्छ । निर्वाचन आयोगमा खाली वार्षिक आयव्ययको प्रतिवेदन बुझाउने वा महाधिवेशन गर्ने मात्रै कुराले गणतन्त्र बलियो हुँदैन ।  पार्टीभित्रको आन्तरिक लोकतन्त्रको असल अभ्यास हुनुपर्छ । त्यसमा चुकेका छौँ । समानुपातिक जनताले छानेको भन्दा नेतृत्वको रोजाइमा परेको, खल्तीबाट झिकिएको भने आम बुझाइ छ । आरोप होइन है ।  नयाँ परिष्कृत ढङ्गले जान नसक्दा अस्थिरता आएको पक्षलाई मनन गरिनुपर्छ ।

हामीले अहिले रोजेको निर्वाचन प्रणालीले कसैलाई बहुमत दिन्न । १३८ सिट नआई बहुमत हुँदैन, त्यो पुग्न कठिन छ । अर्कातर्फ दलहरुबीच सहकार्यको संस्कृति अवलम्बन गर्न नसक्नुका कारण घोषणापत्र फरक छन् । न्यूनतम साझा राज्यका मुद्दा कसैले बोकेका छैनौँ । सबैले आफ्नो सर्वोच्चताका कुरा बोकेका छौं । पार्टीका विचारधारा, गन्तव्य र राजनीतिक मान्यता र दार्शनिक हिसाबले हुन सक्दछ । यद्यपि, कैयौँ चीजहरु भने दर्शनभन्दा बाहिर हुन्छ ।

परराष्ट्र नीतिमा राजनीतिक दल विशेषको विचारधाराको के अर्थ हुन्छ ? त्यहाँ उदार पुँजीवाद, नवउदारवाद र वामपन्थीले भन्ने गरेको समाजवाद भिन्नता हुन्छ ? परराष्ट्र नीति एउटै हुनुपर्छ । त्यहाँ कुनै वाद र विचार भन्ने नै व्यक्त हुँदैन । त्यसमा अलि सोच्नुपर्ने हुन्छ । अर्कातर्फ हामीले संरचना धेरै बनायौँ कि भन्ने छ । एउटा समावेशी आयोग भए पुग्नेमा १२ वटा आयोग किन चाहियो । त्यसैमा ५० प्रतिशत महिलासहित सबै जाति र समुदायको प्रतिनिधित्व गराइदिए भैगयो । राज्यको स्रोत कहाँ प्रयोग गर्ने ? सङ्गठनात्मक कि उत्पादनका संरचना निर्माणमा भन्ने स्पष्ट नीति छैन । गरिबीमा लोकतन्त्र दूषित हुन्छ, त्यसैले हामीलाई समृद्धि चाहिएको छ ।  हाम्रा प्रदेशकै सङ्ख्याबारे अनेक मान्यता छन् । यसमा म अलि फरक मत राख्छु । दुई तहको सङ्घीयता भए हुन्छ कि हुँदैन ? सेवा प्रवाह दिने आँगनको र परराष्ट्रदेखि सम्पूर्ण राजनीतिक नीति निर्माण गर्नेमाथि सरकार भएपछि अरू किन चाहियो भन्ने प्रश्न पनि उठ्या छ ।

ती पनि जनताबाटै उठ्या प्रश्न हुन् बाहिरबाट लादिइएका होइन । पालिका सङ्ख्या र उस्तै प्रकृतिका संस्था कति राख्ने भन्नेमा स्पष्ट हुन जरुरी छ । राजनीतिक सङ्क्रमणकालीनको अवस्थामा विगतमा जनताका असीमित चाहनालाई संविधानमै समेट्ने कोसिस गर्यौं । जनभावनालाई निरन्तर प्रतिनिधित्व गर्नेतर्फ सोचिएन । त्यसले पनि केही समस्या निम्त्यायो भन्ने लाग्छ ।

लोकतन्त्रमा निर्वाचनको विकल्प नभए पनि स्थिरताका लागि अभ्यासमा देखिएका कमजोरी सच्याउन निर्वाचन प्रणालीमा सुधारको खाँचो छ ।  समानुपातिकको ठाउँमा ३३ प्रतिशत महिलालाई प्रत्यक्षमै स्थान सुरक्षित गर्दै केही जातीय समुदायको प्रतिनिधित्व राष्ट्रियसभामा गराउन सकिन्छ । प्रतिनिधित्व हुन नसक्ने समुदायको आवश्यकता र चाहनाको आवाजलाई राष्ट्रिय मत बनाएर बुलन्द गर्न सकिन्छ ।

सङ्घीयताको सौन्दर्य भनेको प्रदेश हो, प्रदेश हटाएर कसरी त्यो अभ्यास गर्न सकिएला र ? 

– हामीलाई आफूले बोकेको भारीले आफैँलाई नथिचोस् । थेग्न पनि सक्नुपर्यो नि त ! म सङ्घीयताको विरोधी हैन । गणतन्त्र सर्वेसर्वा हो । सङ्घीयता त प्रणालीभित्रकोे एउटा विषय हो । गणतन्त्र उद्देश्य र गन्तव्य हो । उदाहरणका लागि मानिसको मुख्य सपना घर बनाउनेछ । घरमा कोठा, झ्याल र भर्याङ जता फर्काए नि हुन्छ । त्यसैगरी, गणतन्त्र चाहिँ राज्यकै गन्तव्य हो । बाँकी  कोठामा के गर्ने, कुन रङ्ग लगाउने, कस्तो सजावट गर्ने भन्ने विषय आर्थिक क्षमतामा भर पर्छ । यो पनि त्यस्तै विषय हो ।

हामीले सोच्नुपर्ने सुशासन हो । भोट त  जसले बढी ल्याउँछ उसैले जित्छ नि । पढेकै मानिस विद्वान हुनुपर्छ भन्ने छैन । प्रदेशले बनाएका शैक्षिक कानुन कता छन् ? प्रदेश नै पिच्छे फरक कानुन बनाइएको छ, यो के गर्या ।  नियन्त्रण र सन्तुलनमा विवेक देखिन्न । यसबाट अराजकता हुन्छ । ‘मोनिटरिङ सिस्टम’ सहितको चुस्त दुरुस्त  हुनुपर्छ । सङ्घीताको दुईटा मान्यता छन् । एउटा जन्मजात  मिलेका र बाहिरबाट पछि आएर मिलेका राज्य, अर्को भनेकोठूला देश जहाँ विशाल भूगोल र जनसङ्ख्या छ । हाम्रो जस्तो सानो देशमा तहगत संरचना धेरै नभए पनि हुन्छ । के फरक छ पहिलाका पाँच विकास क्षेत्र र अहिलेका सात प्रदेशमा ? अहिलेसम्म कानुन बन्न नसक्नुमा केही जटिलता छ ।  छलफलको पोको निस्केपछि यसबारे थप धारणा राख्छु ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस र माओवादी परिवर्तनका संवाहक हुन्, तीन दल नमिलेसम्म देशले समृद्धिको गति लिन सक्दैन, उनीहरुका बीचमा किन हार्दिकता हुन सकेन भन्ने लाग्छ ? 

–केही विषय पार्टी र सरकारभन्दा माथि हुन्छन् । त्यसको सिमा हामीले बुझ्न सकेनौँ वा चाहेनौँ वा प्रयोगमा ल्याएनौँ । समस्या त्यही नेरछ । विद्यमान चुनाव प्रणालीबाट चुनावमा कसैको पनि बहुमत आउँदैन, तर सबैलाई सरकार चाहिएको छ । प्रत्यक्ष निर्वाचन वा समग्रमा ठूलो दलले नेतृत्व गर्छ, अरू मिसिन सक्छन् भनी संविधानमै लेख्नुपर्छ । दश र सात सिटेलाई प्रधानमन्त्री बनाएर गएपछि नीति र जनमतको सम्मान हुन नसकेको हो । सबै दल मिल्ने हो भने एउटै बनाए भैगयो नि, तर त्यहाँ फेरि अर्को अटोक्रेसीको जन्म हुन्छ । राष्ट्रिय सहमतिका आधारमा न्यूनतम साझा अवधारणा बनाएर कम्तीमा १०–२० वर्ष काम गर्ने हो भने आर्थिक र परराष्ट्र नीति स्थिर हुन्छ ।

राष्ट्रका साझा विषयमा न्यूनतम सहमति नहुँदा सत्तामा हुँदा राम्रो बिम्ब देख्ने, प्रतिपक्षमा गएपछि खराब देख्ने दूषित मानसिकताद्वारा   राजनीतिमा विषाक्त छ, त्यो अन्त्य गर्न प्रमुख दलले सत्तामा हुँदा सेवा प्रवाह र विपक्षमा रहँदा जनताको आवाजलाई मुखरित गर्नुपर्छ । लोकतान्त्रिक संसदीय व्यवस्थाले सत्ता र प्रतिपक्ष दुवै खोज्छ  र स्वीकार गर्छ ।

हरेक सरकार बदलिँदा भ्रष्टाचार र सुशासनका कुरा उठाउने गरिए पनि भ्रष्टाचार मौलाइरहेको छ, यस्तो किन हुन पुग्यो ?

–एउटा साधारण उदाहरण मेलाम्ची परियोजना किसुनजीको कल्पना हो । सबै सरकारले त्यसलाई निरन्तरता दिए । कसको पालोमा शिलान्यास, सुरुङको ब्रेक थ्रू, पानी खसाल्यो, उद्घाटन भयो भन्ने कल्चरबाट हामी बाहिरिनु पर्छ । यसमा ठूला नेतामै रुपान्तरण आवश्यकता छ । नयाँ पुस्तालाई असल पाठ सिकाएर अभ्यस्त बनाउनुपर्छ । असल संस्कार हस्तान्तरण गर्न आफैँ अनुयायी भए के हुन्छ ? कतिपय विषय प्रणालीले नै काम गर्दिएको हुन्छ । उदाहरणका लागि भूकम्पले राससको भवन भत्किएपछि जुन सरकार भए पनि बनाउने व्यवस्था गर्दथ्यो, जमिन थियो नै, संयोग म सञ्चारमन्त्री हुँदा बजेट सुनिश्चिता भयो, तर यसको सबै श्रेय मैले नै लिनुपर्छ भन्ने होइन । सुशासन व्यवहारमा प्रकट हुनुपर्छ, आरोपमा मात्रै होइन । एउटा दल र मानिस विपक्षमा हुँदा फाइल खोलाँै भन्छ,  सत्ता पक्षमा हुदा खोल्दैन । अर्कातर्फ हाम्रो नेपाली समाजमा कसैलाई  अभियोग लाग्ना साथ राक्षसजस्तो ठान्छौँ । उठेको विषयको निरुपण आउन दिनुपर्छ । बदला र प्रदूषित राजनीतिबाट मुक्त हुनुपर्छ । भएका राम्रा कामको श्रेय सबैले लिनपर्छ ।

अहिले भइरहेको सदनको अवरोधप्रति तपाईंको धारणा के हो ? 

–भ्रष्टाचारको विषय उठ्नासाथ संलग्न हो कि होइन ? संलग्नता कति होला ? त्यो पहिचान हुनुपर्यो  । यस्ता चीजहरु त आइरहन्छन्, हेर्नुस् यो घटनामा आधारित भएर कति विषय आउँछन्–जान्छन् । अहिले सदन अवरुद्ध गर्नुपर्ने कारण देखिँदैन । खुद अख्तियार नियमनकारी निकायले ‘छानबिन गर्दै छु है, हात हाल्या छु’ भन्छ भने अब अभियोजन गर्ने अधिकार संस्था त्यही हो । अनुसन्धान र अभियोजन दुइटै गर्छ उसले । प्रतिवेदन आउन्जेल त पर्खिदिनु पर्यो नि होइन र ? यहाँ हामीलाई धैर्यताको अभाव छ । बुझेको विषयलाई बुझ पचाएर प्रस्तुत हुनु हुँदैन । राजीनामा दिने नदिने स्वयं व्यक्तिमा भर पर्ने विषय हो ।

मेरो बारेमा मुद्दा उठ्दा मैले राजीनामा दिएँ ।  कसैलाई छोड्न मन लाग्दैन भने छोड्दैन नि त । आ–आफ्नो कुरा हुन्छ । तर उसले उन्मुक्ति पाउँछ कि पाउँदैन भन्ने विषय अख्तियारले हेरेपछि विश्वास गर्नुपर्छ । कानुनले कसैलाई पनि उन्मुक्ति दिँदैन । त्यही कारणले लोकतान्त्रिक गणतन्त्र छ । पञ्चायत, राजतन्त्र र हुकुमतन्त्र हैन नि ।  कानुनले जे भन्छ त्यही हुन्छ । अनुसन्धानको प्रक्रियाले जे निष्कर्ष आउँछ, त्यही हुन्छ । आरोप लागेलाई दया र मायाले बचाइदिने होइन । बजेट रोक्नु भनेको जनतालाई रोक्नु हो । यो फेल हुन्न । नेकपा (एमाले) र कांग्रेसमध्ये एउटा फ्याक्टरल हुन्न भने पो रोकिन्छ अन्यथा अघि बढ्छ । पास हुन्छ । आर्थिक मूल नीति र बजेट अब के परिवर्तन हुन्छ त ?

युवा विदेश पलायन हुने क्रम बढिरहेकै देखिन्छ । देशभित्र पनि सरकारी निकाय र संयन्त्रप्रति आमनागरिकको विश्वास कमजोर बन्दै देखिन्छ, किन यस्तो भयो भन्ने लाग्छ ?

– हो, राज्यले नागरिकलाई अवसर छ भन्ने वातावरण दिनुपर्छ । राज्यका पनि कमजोरी छन् । तर, राज्य मात्र जिम्मेवार छ भन्न मिलेन । १२ कक्षा उत्तीर्ण हुने बित्तिकै विदेश पठाउने त अभिभावकहरु नै हुन् नि । यो व्यक्तिको स्वतन्त्रताको अधिकार हो । अध्ययन गर्न, घुम्न र रोजगारीका लागि अन्य देश जानु उसकोे अधिकार हो भने राज्यले उसलाई कसरी रोक्नु त ? पकै पनि प्रणालीमा पारदर्शिता चाहिन्छ । हाम्रो शिक्षाले रोजगारी सृजना गर्न सक्नुपर्यो । शिक्षाले गुणस्तरमा वृद्धि र मानसिकतामा सकारात्मक परिवर्तन ल्याउनुपर्छ ।

कुनै पनि देश आफ्नै जनताले बनाउने हो । अर्काले दिने त सहयोग हो । काँध त आफैँले थाप्ने हो । त्यसैले यसमा धेरै चिन्ता लिनु हुँदैन ।

परम्परागत उत्पादन प्रणाली र सम्बन्धहरुसँग रमाइरहेका बेला  राज्यले अनिवार्य दिनुपर्ने न्यूनतम विकासका पूर्वाधार सेवा उपलब्ध गराउन सकेन । शिक्षा, स्वास्थ्य, यातायात, खानेपानीलगायत अत्यावश्यक सेवाको अभावमा सुविधा खोज्दै सङ्घर्ष गर्नकै लागि पनि बसाइँसराइ गर्न थालियो ।

गाउँबाट सदरमुकाम, सदरमुकामबाट काठामाडौँसम्म अवसरको खोजीमा सर्न थालियो । काठमाडौँबाट विकासको प्रक्रियाले अर्को सपना जाग्यो भने ऊ जान्छ नि त । यो निरन्तर चल्ने प्रक्रिया हो । मान्छे सन्तुष्ट हुने जात पनि होइन । त्यहाँ राज्य दोषी छैन । तर, कमजोरी पक्कै छन् । अहिले जागिर पाइएन भनेको सुन्छौँ तर, प्लम्बिङमा हाम्रो पैसा बाहिर गइरहेको छ ? त्यही काम अन्य देशबाट आएका कामदारले गरिरहेका छन् । आफ्नो घरको भर्याङ नपुछ्ने अर्काको शौचालय सफा गर्ने प्रवृत्ति छ । हामीले जस्तोसुकै श्रमलाई पनि सम्मान गर्ने संस्कृति विकास गर्नुपर्छ ।

विधायिकाको मुख्य जिम्मेवारी कानुन निर्माण हो, तर सदनमा उपस्थिति सङ्ख्या (कोरम) पुग्दैन, उत्ता  बजेटका लागि मन्त्रालयको कोठा भेटिनुहुन्छ, किन ? 

–यो  व्यावहारिक जीवनको कुरा हो । निर्वाचनमा जनतासँग सडक, पुल, स्वास्थ्य संस्था र विद्यालय निर्माण गर्छु भनेर भोट प्राप्त गरेको छु । मलाई कानुन बनाउँछु भनेर मात्र भोट प्राप्त हुँदैन । सार्वजनिक सेवाका सम्पूर्ण क्षेत्रमा नेतृत्वकारी भूमिका खेल्छु भनेर भोट मागिन्छ । ठूलो कमजोरी हो । कोही पनि सांसदले कानुन राम्रो बनाउँछु भनेर त चुनाव जितेकै छैन । जनता झुक्याउने कुरा गरेर हुँदैन । प्रधानमन्त्री छान्ने, बजेट पास र फेल गर्नेमा दलीय ह्विप ठीक होला । कानुन बनाउने कुरामा ह्विप लगाउनु हुँदैन । ‘पोलिसी मेकिङ’मा पनि ह्विप लगाइदिएपछि सांसदको भूमिका के बाँकी ! अर्काेतर्फ सांसदसँग धेरै अपेक्षा गरेपछि लगानी पनि सोहीअनुसार हुनुपर्छ । हो, जनता पनि कानुन निर्माण र सुशासन दिइन्छभन्दा मत हाल्छन् त ? निर्वाचनको समयमा रेष्टुरेन्टबाट फोन गरेर सोध्छन के गर्नु हुन्छ भनेर तर, म त्यस्तालाई भोट हाल्नुहुन्छ भने धन्यवाद दिन्छु । हाल्न हुुन्न भने उहाँको अधिकार हो ।  सुविधाका कुरा गर्दा सांसद १० मिनेट बसेर सोच्नका लागि एउटा छुट्टै टेबल र कोठा छैन । स्वकीय सचिव कहाँ बस्ने, चौरमा गएर सुत्ने कि घाम तापेर बस्ने ? आगामी दिनमा यसको व्यवस्थापन गर्दै जानुपर्छ । सांसद सङ्ख्या कम होस् तर जवाफदेही बनाइनुपर्छ । जुम्ला, हुम्ला कालीकोट, डोल्पा, ताप्लेजुङ जस्ता विभिन्न ठाउँबाट आएका सांसदलाई आवासको व्यवस्था छैन, त्यो अव्यावहारिक पनि छ । बजेट आइसक्यो अझै योजना पर्या छैन भन्छन् । संसद्मा बजेटका विषयमा अब हुने छलफल दन्त बजान मात्रै हो भन्ने बुझ्दैनन् । पाना पल्टाएर योजना खोज्छ, हाल्या योजना  कार्यान्वयनमा लैजानलाई मङ्सिर पुस लाग्छ । यस प्रणालीमा पनि सुधार हुनुपर्छ ।

राज्य जिम्मेवार भएन, आफ्ना दुःख–कष्ट कसलाई सुनाऔँ भनी बसेका जनतालाई आशा प्रदान गर्ने तपाईंको सन्देश केही छ ?  

–म हिरोइजमको खोजी गर्दिनँ । लास्टमा हिरो आउँछ भन्ने विश्वास पनि गर्दिनँ । समाज नै हिरो हो । सार्वजनिक सेवा प्रवाहमा नागरिकले भोग्दै आएका समस्या चिन्ताजनक छ । उदाहरणका लागि मालपोत र राष्ट्रिय परिचयपत्र डिजिटल हुन्छ भनिन्छ । तर त्यहाँ नागरिक लामो लाइन बस्न बाध्य छन् । ती कार्यालयमा सर्भर बिग्रियो भनेर सेवा दिन ढिलाइ भइरहेको हुन्छ ।  त्यहाँ ठेक्कामा काम हुन्छ । मेरै जिल्लामा पनि  सर्भर बिग्रिएको भन्छन्, अनि सेटिङमा काम हुन्छ । लौरो लिएर धर्ना कस्न मिलेन । फर्म भरेको तीन दिनभित्र उसको काम सम्पन्न हुनुपर्ने कानुन ल्याउनुपर्छ । सेवा उपलब्ध गराउने जिम्मेवारीमा रहेका अधिकारीहरुलाई बाध्यकारी व्यवस्था नगरेसम्म, यो सुधार हुनेवाला छैन । कामचोर प्रवृत्ति छ । यसबाट निमुखा मर्ने हो ।

बाघलाई कसैले बलि दिएको आजसम्म थाहा पाएको छैन । त्यो एउटा सामान्ती चेतबाट हामी अलग हुनु पर्यो । नागरिकलाई नागरिकका रुपमा हेर्नु पर्यो । उनीहरुले तिरेको करबाट कर्मचारी र नेताहरुले तलब बुझ्छन् । राज्यबाट नागरिकलाई उपलब्ध गराइने सेवासुविधालाई सर्वसुलभ र सहज तुल्याउन आवश्यक छ । जिब्रो चपाएर र मौका परस्त कुरा गर्ने खराब बानी सबैले त्याग्नुपर्छ ।

२५ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनासम्म सरकारको खातामा ३ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा उक्त परिमाण बराबर रकम मौज्दात रहेको छ ।

२०८१ असार मसान्तमा ती खातामा ९३ अर्ब ९६ करोड मौज्दात थियो । यस्तै मुलुकसँग विदेशी मुद्रा सञ्चिति रकम २५ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको वित्तीय विवरणअनुसार वैशाख मसान्तसम्म २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चित छ । गत असार मसान्तसम्मको तुलनामा वैशाखसम्म आउँदा मुद्रा सञ्चिति रकम २३.१ प्रतिशतले बढेको छ ।

 

कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन

काठमाडौँ । नेपालमा सरदर मितिभन्दा १५ दिन अघि अर्थात यही जेठ १५ गते मनसुन कोशी प्रदेश भित्रिएको थियो ।

तर मनसुन कोशी प्रदेशबाटै पूर्वी एसिया फर्किएको छ । पूर्वी एसिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको कोशीबाट उता सोहोरिएको मौसमविद् बताउँछन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले भने, “मनसुन पूर्वी एसिया क्षेत्र मुख्यगरी फिलिपिन्सतिर सोहोरिएर गएकाले कोशीबाट अन्यत्र फैलिन पाएन, अझै केही दिन मनसुन फैलिने सम्भावना देखिँदैन ।”

मनसुन भित्रिए लगत्तै जेठ १७ गते पूर्वी नेपालमा ठूलो वर्षा र बाढी आयो । धरान­धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक लेउती खोलाको बाढीले बगायो । झापामा माइखोलाको बाढीले २२ घर डुबान भयो । त्यसपछि वर्षा भएको छैन ।

त्यसो त पश्चिम तथा मध्यक्षेत्रमा स्थानीय र पश्चिमी वायु सक्रिय छ । मौसमविद् झा पश्चिमी वायु अझै बलियो रहेकाले मनसुन आउन नपाएको बताउँछन् ।

नेपालमा बङ्गालको खाडीको जलवाष्प बोकेर मनसुनी वायु आउने गर्छ । तर त्यो कमजोर भएको उनले बताए । जसका कारण हाल देशभर तापक्रम वृद्धि भइरहेको छ । मौसमविद्का अनुसार यसरी मनसुन ‘ब्रेक’ हुनु राम्रो सङ्केत होइन । यसले कतै धेरै वर्षा गराउने र कतै खडेरी पार्ने हुनसक्छ ।

भोलिदेखि बदली हुने

मौसमविद् झाले भोलिदेखि नेपालका कतिपय क्षेत्रमा फेरि बदली सुरु हुने बताए । उनका अनुसार अहिले बङ्गालको खाडीमा फेरि अर्काे न्यून चापीय प्रणाली बनेको छ ।

भारतको मध्यभूभागमा पनि न्यून चापीय क्षेत्र बन्दै गएको उनले बताए । जसको असर नेपालमा आइपुग्ने छ र वर्षा गराउने छ । यसवर्ष जल तथा मौसम विज्ञान विभागले धेरै वर्षा हुने र गर्मी पनि बढी हुने आँकलन सार्वजनिक गरिसकेको छ । जसअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद प्रतिकार्य योजना लागू गरिसकेको छ ।

प्राधिकरणका प्रवक्ता रामबहादु केसीले करिब २० लाख मानिस प्रभावित हुने र त्यसको १० प्रतिशतलाई राहत तथा उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने अनुमानसहित तयारी गरिरहेको बताए ।

एक महिनामै भित्रियो एक खर्ब ६५ अर्ब रेमिट्यान्स

काठमाडौँ । वैशाख महिनामा एक खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको वैशाखको तुलनामा यसपालि ४९ अर्ब ३१ करोड रुपैयाँले रेमिट्यान्स बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत वर्षको वैशाखमा एक खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । चैत मसान्तसम्म नेपालमा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । बैशाख मसान्तसम्म आइपुग्दा यो रकम १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको हो ।

यो अवधिमा भित्रिएको रेमिट्यान्स अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा १६.९ प्रतिशतले बढी रहेको राष्ट्र बैंकले जनाएको छ ।

वैशाख मसान्तसम्म वैदेशिक रोजगारीका निम्ति संस्थागत तथा व्यक्तिगत गरी नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या चार लाख पाँच हजार ६१० छ । र, पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ८० हजार ३१४ छ ।

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । सोमबारको तुलनामा मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार एक तोल सुनको मूल्य एक लाख ९० हजार कायम भएको छ । सोमबार सोही परिमाणको सुन एक लाख ९० हजार ६०० मा खरिदबिक्री भएको थियो ।

चाँदीको मूल्यमा पनि केही फेरबदल भएको छ । आज एक तोला चाँदी रु दुई हजार १५० मा कारोबार भइरहेको छ । सोमबार एक तोला चाँदी रु दुई हजार १६५ मा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३१६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विगतका गल्ती सच्याउँदै अघि बढेका छौंः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताएका छन् ।

मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गर्दै माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको बताए ।

उनले भने,’समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको छ, यो अभियानमा जोडिन म सबैलाइ आग्रह पनि गर्दछु ।’

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले पार्टी प्रवेश र समायोजनले पार्टीको अभियानमा थप ऊर्जा तथा उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे ।

साथै अध्यक्ष दाहालले माओवादी केन्द्रप्रति आकर्षक बढ्दै गएको उल्लेख गर्दै पार्टीमा समायोजन हुन आउनेलाई उचित जिम्मेवारी दिइने बताए ।

फूलैफूलले सजिएको माडीको अयोध्यामार्ग

भरतपुर । चारैतिरबाट वनजङ्गलले घेरिएको सुन्दर चितवनको माडी उपत्यका । कृषि र धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको माडीभित्र एउटा सुन्दर गाउँ निर्माणमा जुटेका छन् अयोध्यामार्गका महिलाहरू । माडी नगरपालिका–८ स्थित अयोध्यामार्ग प्रवेश गर्नासाथ जोकोहीको मन प्रफुल्लित हुन्छ । यहाँका महिलाहरूले सृजनात्मकता र संस्कार झल्किने गाउँको परिवेश निर्माण गरिरहेका छन् ।

पक्की सडकको दायाँबाँया रहेका मौलिक प्रकारका घर । सबै घरको आँगनमा फूलबारी । सडकको दायाँबायाँ राखिएका ढुङ्गामा लगाइएका रङले झन् यहाँको सौन्दर्य बढाएको छ । यसका पछाडि स्थानीय समुदाय, विशेषतः महिलाहरूको अगुवाइमा भएको कामले अयोध्यामार्ग माडीको एक नमूना बस्तीका रूपमा परिचित बन्दै गइरहेको छ ।

अयोध्यामार्गस्थित फूलबारी महिला समूहकी अध्यक्ष सुजिता पाण्डे गाउँमा दैनिक आउने पर्यटक र उनीहरूले गर्ने गरेको प्रशंसाले दङ्ग छिन् । ‘गाउँकै स्वप्नम आलेमगर दिदीले घरमा ढकमक्क फूल रोपेको देखेर लाग्यो, हामीले पनि किन नरोप्ने ? उहाँबाटै प्रेरित भएर घरघरमा गमला राख्न थाल्यौँ । सडक किनारामा ढुङ्गा राख्ने, त्यसमा रङ लगाउने अनि गाग्री ल्याएर सजाउने क्रम अघि बढ्यो ।’

अहिले २५ घरमा यस्तै आकर्षक सजावट र ढकमक्क फूल देख्न सकिन्छ । अहिले गाउँ नै फूलबारीजस्तै देखिन थालेको उनले बताइन् ।

समूहले नियमित बैठक, वार्षिक कार्ययोजना, कार्यविभाजन, पारदर्शी बजेट सञ्चालनजस्ता अभ्यासलाई प्राथमिकता दिँदै आएको पाण्डेले बताइन् । देउसीभैलो, सामूहिक खेती, धार्मिक कार्यक्रम, सहयोग कोष सञ्चालनलगायत गतिविधिले सामाजिक र आर्थिक सशक्तीकरणमा समेत टेवा पुगेको उनको भनाइ छ ।

गाउँलाई आकर्षक बनाउन सहयोग गर्ने दाताहरूको नाम सार्वजनिक सूचना बोर्डमा उल्लेख गर्ने अभ्यासले पारदर्शिता र आपसी विश्वास निर्माण गरेको उनले बताइन् । ‘पर्यटकको आवागमन देखेर गाउँलाई होमस्टेसमेत सञ्चालन गर्ने तयारीमा छौँ, उनले भनिन्, ‘माडीको धार्मिक सांस्कृतिक र मौलिक ग्रामीण जीवनशैलीको अनुभव गराउने योजना छ ।’

यहाँ रङ्गिएका ढुङ्गा र गमलामात्र होइन, हरेक घरको अगाडि राखिएको फूलसहितको कलशले यहाँको सांस्कृतिक चेतना पनि झल्काउँछ । ‘कलस राख्नाले शुभसङ्केत दिन्छ, स्वागत र शुभयात्राका लागि पनि राम्रो मानिन्छ’, सुजिताले भनिन् । गाग्रीमा पानी हाल्ने चलनले घर सजिएको मात्रै होइन, समुदायमा स्वच्छता र सौन्दर्यप्रतिको चेतना पनि बढेको उनी बताउँछिन् ।

यो अभियान कुनै सरकारी निकाय वा सङ्घसंस्थाले सञ्चालन गरेको कार्यक्रम होइन, स्थानीय महिलाहरू आफैँ पैसा उठाएर, समय र श्रम दिएर गाउँलाई सिङ्गारिरहेका छन् । सँगसँगै उनीहरूले गाग्री नराख्ने घरलाई सचेत गराउने र सरसफाइमा लापरवाही गर्नेलाई कारबाही गर्ने अभ्यासले गाउँमा अनुशासन पनि कायम राखेका छन् ।

गाउँको यो परिवर्तनले सामाजिक सम्बन्धमा पनि मिठास थपेको छ । आमा समूहकी सचिव सीमा पन्त नजिकैको विद्यालयमा पढाउँछिन् । उनले बचेको समय गाउँघरको सन्दौयकरणका लागि खर्च गरेकी छन् ।

‘समुदायसँग जोडिएपछि समाजमा आत्मीयता बढेको छ । पहिले समाजसँग खासै वास्ता नगर्नेहरू पनि अहिले सरसफाइ, बगैँचा बनाउने काममा लागेका छन्’, उनले भनिन् । उनले थपिन्, ‘अब त एउटा घरमा बनेको परिकार छिमेकीसँग साटासाट गर्न थालिएको छ । ढोका खोल्नुपर्दैन, सिधै पस्न सकिन्छ, खान सकिन्छ । कसैको बाख्रा फुक्यो भने अरूले गएर बाँधिदिन्छ । चराउन लैजानुपर्यो भने सहयोग पाइन्छ ।’

अहिले यहाँ टाढाटाढाबाट पर्यटक यहाँको परिवेश हेर्न र फोटो खिच्न आउने गरेका छन् । ‘घुम्न आउनेका कारण शनिबारको दिन त फुर्सद नै हुँदैन, पन्तले भनिन्, धेरै काम गर्न बाँकी छ, गाउँलाई धपक्कै बल्ने बनाउन मन छ ।’

यहाँ भएको परिवर्तन केवल बाह्य सौन्दर्य नभई समुदायको सामूहिक भावना र सामाजिक पुनर्जागरणको प्रतिबिम्ब पनि बनेको उनको अनुभव छ ।

यहाँका सडकका दायाँबायाँ नेपाली राष्ट्रिय झन्डा र सडक किनाराका ढुङ्गामा चेतनामूलक सन्देश कुँदिएका छन् । बाँसको डोकाबाट फोहर सङ्कलन गर्ने प्रविधि, प्लास्टिकजन्य वस्तुको छुट्टाछुट्टै व्यवस्थापनजस्ता अभ्यासले यहाँका बासिन्दामा वातावरणीय जागरूकता बलियो बनाएको माडी नगरपालिका–८ का पूर्ववडाध्यक्ष कृष्णप्रसाद अधिकारी बताउँछन् । ‘बाटो सफा छ, हरियाली र सौन्दर्यपूर्ण देखिन्छ । न कतै फोहर छ, न त अराजकता’, उनले भने । फूलबारी महिला समूहको अगुवाइमा सञ्चालनमा आएको सरसफाइ अभियान अहिले माडी नगरभित्रकै उदाहरण बनेको उनले बताए ।

वैदिक सनातन सांस्कृतिक सम्पदा सङ्घ माडीका सल्लाहकार रेशम सापकोटाले अयोध्यामार्गका दृश्यहरू केवल बाहिरी सौन्दर्यमात्र नभई यहाँका महिलाहरूको सौन्दर्यप्रेम, मेहनत र सामुदायिक चेतनाको सङ्केत पनि भएको बताए । अयोध्यामार्ग माडीको नयाँ पर्यटकीय गन्तव्य बन्ने भन्दै उनले ग्रामीण सौन्दर्यको अलौकिक सङ्गम बनिरहेको धारणा राखे ।

‘महाराजधिराज’ मा उषा रजक अनुबन्ध

काठमाडौं । नेपाली फिल्म ‘महाराजधिराज’ मा अभिनेतृ उषा रजक अनुबन्ध भएकी छन् । निर्देशक परिच्छेद सेनको निर्देशनमा बन्ने फिल्ममा अभिनेतृ रजकको प्रवेशसँगै मुख्य कलाकारहरूको लाइनअप पूरा भएको निर्माण युनिटले जनाएको छ ।

सोमबार निर्माण पक्षले रजकलाई प्रमुख भूमिकामा अनुबन्ध गरेको घोषणा गर्दै फिल्मको प्रमुख स्टारकास्ट टुंगिएको हो । यसअघि नै आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह, पुष्प खड्का, जय किशन बस्नेत, गजित विष्ट जस्ता चर्चित अभिनेता फाइनल भइसकेका थिए ।

यस्तै वर्षा राउत र वर्षा शिवाकोटी, आशा पौडेल पनि यो फिल्ममा प्रमुख भूमिकामा देखिँदै छन् । यो फिल्ममा निर्देशक सेनले कथा लेखन पनि आफैंले गरेका हुन् ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने‘महाराजधिराज’ को निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन् । फिल्म आगामी फूलपातीमा देशभर प्रदर्शनमा आउने तयारीमा छ ।

मैले कुनै गुटगत राजनीति गरेको छैनः पूर्वराष्ट्रपति भण्डारी

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक जीवन नै नेकपा एमालेबाट शुरू भएकाले सक्रिय राजनीतिमा आउँदा एमालेमै आउने बताएकी छन् ।

काठमाडौं फर्किने क्रममा मंगलबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले एकचोटी नाता जोडिएपछि सधैं रहिरहने बताएकी हुन् । उनले आफूले सधैं देश र जनताको पक्षमै काम गरेको र अब पनि त्यसबाहेक कुनै ठूलो आकांक्षा नभएको बताइन् ।

उनले भनिन्, ‘पार्टीगतरूपमा त म त्योभन्दा फरक रूपमा हेर्न सक्दिनँ । राष्ट्रिय राजनीतिमा देशलाई कसरी राम्रो हुन्छ भन्ने कुरामा मेरो जोड छ ।’ उनले आफूले देशभित्र घुम्न कसैको अनुमति लिनुपर्ने बताइन् । उनले भनिन्, ‘म सुरुदेखि नै पार्टीमा काम गरेको मान्छे हो । त्यसैले म देशभित्र घुम्न एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनु पर्दैन ।’

पूर्वराष्ट्रपति भण्डारीले आफूले कुनै गुटगत राजनीति नगरेको बताइन् । प्रधानमन्त्री ओलील राजनीतिमा फर्किने विषयलाई लिएर गरेको टिप्पणी आफूलाई नै ताकेर नगरको उनले बताइन् । उनले भनिन्, ‘अध्यक्ष ओलीजीले मलाई नै ताकेर भन्नुभयो होला भन्ने मलाई लाग्दैन । म कहिले गुट नबनाएको मान्छे त्यसो भन्न मिल्दैन । उहाँले पनि त्यस्तो भन्नुभएको होइन होला । तपाईंहरूले त्यस्तो अर्थ लगाउनुभयो कि ?’

अनेरास्ववियुको महाधिवेशन उद्घाटनमा प्रधानमन्त्री ओलीले बाहिर भ्रम फिँजाएर पार्टीलाई कमजोर बनाउने र पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्ने काम भइरहेको भन्दै यस्ता दुष्प्रयासलाई सोझै इन्कार गर्न निर्देशन दिएका थिए ।

उनले भनेका थिए, ‘अहिले हल्ला चलेको छ, तल तल यो ग्रुप भनेका छन् त्यो ग्रुप भनेका छन्। यो ग्रुप र त्यो ग्रुपको कुनै आवश्यकता छैन। यस्ता कुरालाई तपाईंहरुले सुन्नेबित्तिकै यस्ता कुरा नगर्नुस् भन्ने जवाफ दिइहाल्नुस्। फलानाका ग्रुप, यसका ग्रुप त्यो छोडिदिनुस्। अर्को खेल हुन खोजेको छ यहाँ, अब फलाना आउने अरे, फलाना आउने अरे, यस्तो यस्तो। पार्टीमा कुनै छलफल नै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष, अहिले महाधिवेशन घोषणा भएको छैन। महाधिवेशनमा के गर्ने सरसल्लाह भएको छैन।’

भोजपुरको तीनतलेका किसानले व्यवसायिक चिराइतोखेतीबाट १२ लाखसम्म आम्दानी लिँदै

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–१० तीनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा जुटेका छन् । चिराइतोबाट मकै, आलुलगायत बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि उनीहरु चिराइतोखेतीमा जुटेका हुन् ।

षडानन्द–१० साङपाङका वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार तीनतले क्षेत्रका एक सय २० बढी किसानले चिराइतो, लोठसल्ला, सतुवालगायतको व्यावसायिक खेती गरिरहेका छन् । यहाँका माथिल्लो भेगका किसानको मुख्य आम्दानीको स्रोत चिराइतो रहेको छ । नगरपालिकाको माथिल्लो भेगलाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिएको छ ।

“चिराइतो तीनतले क्षेत्रका अधिकांश किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको छ, अन्यबालीको तुलनमा जडीबुटी चिराइतोखेतीबाट राम्रो आम्दानी हुने भएपछि किसान व्यावसायिक खेतीमा लागेको देखिन्छ । अहिले हामीले यो क्षेत्रलाई चिराइलो पकेट क्षेत्र घोषणा गरेर जडीबुटी खेतीका लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उनले भने ।

तीनतले क्षेत्रका किसानले चिराइतो बिक्रीबाट एकपटकमा न्यूनतम रु एक लाख ५० हजारदेखि १२ लाखसम्म आम्दानी लिने गरेको स्थानीय किसान फुर्लाक्पा शेर्पाले जानकारी दिए ।

आफूले अहिले २५ रोपनी क्षेत्रमा चिराइतोको व्यावसायिक खेती गरिरहेको उनले बताए । चिराइतो बिक्रीबाट औसतमा वार्षिक चारदेखि सात लाखसम्म आम्दानी लिने गरेको उनको भनाइ छ । गत वर्ष चिराइतो विक्रीबाट सात लाख आम्दानी गरेको उनले बताए ।

उत्पादन भएको चिराइतो घरबाट नै ठेकेदारले लैजाने गरेको स्थानीय अर्का किसान निमा शेर्पाले बताए । गत वर्ष एक मन (४० केजी) चिराइतो घरबाट नै ४० हजारदेखि ४५ हजारसम्ममा बिक्री भएको उनले जानकारी दिए । राम्रो आम्दानी हुने भएपछि १० वर्षअघिबाट व्यावसायिक रूपमा चिराइतोखेतीमा जुटेको उनको भनाइ छ ।

“मैले १० वर्षअघिबाट चिराइतोको व्यावसायिक खेती गरिरहेको छु”, उनले भने, “चिराइतोबाट राम्रो आम्दानी लिँदै पनि आएको छु । बर्सेनि मूल्यवृद्धि भइरहेको आवस्था छ । त्यहीँ भएर धेरै किसान यसको व्यावसायिक खेतीमा लागेका छन् ।”

चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा सङ्कलन गर्न योग्य हुने हुन्छ । चिराइतो भदौ, असोज, कात्तिकमा सङ्कलन गरिने शेर्पाले बताए । पछिल्लो समय चिराइतोमा बोट सुक्ने, जरा कुहिने रोगको समस्या देखिन थालेको उनले जानकारी दिए । राज्यको तहबाट रोग कीरा नियन्त्रण सहयोग भएमा किसानले अझ राम्रो आम्दानी सक्ने उनको भनाइ छ ।

ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुकालगायत रोगका लागि औषधिको रूपमा चिराइतो प्रयोग गर्न सकिने स्थानीयको भनाइ छ । पात, डाँठ, जरालगायत सम्पूर्ण भाग नै प्रयोग गर्न सकिन्छ । यहाँको चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने गरेको व्यवसायीको भनाइ छ ।

एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले यहाँका माथिल्लो भेगका अधिकांश मानिसले यसको खेती गरिरहेका छन् । लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतोको राम्रो उत्पादन हुँदै आएको छ ।

चिराइतो षडानन्द नगरपालिकाको वडा नं १०, ११ र १३ को माथिल्लो भेग, टेम्केमैयुङ –५ मझौले, तिम्मा, दोभाने, हेलौंछा, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत व्यावसायिक खेती हुने गरेको छ ।

लस एन्जलसमा आप्रवासी धरपकडपछि चर्किएको प्रदर्शन रोक्न ट्रम्पद्वारा सेना परिचालन

बीबीसी । अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलस सहरमा ट्रम्प प्रशासनले थप २ हजार न्याशनल गार्ड र ७०० यूएस मरिन सैनिक पठाउन लागेको छ ।

आप्रवासीहरूलाई सङ्घीय निकाय आईसले धरपकड गरेपछि त्यहाँ चर्किएका विरोध प्रदर्शनहरू लगातार तेस्रो दिन जारी छ भने प्रदर्शनकारी तथा सुरक्षाकर्मीबीच झडपहरू भएका छन् । राज्यका गभर्नर गेभिन न्यूसमले ट्रम्प प्रशासनले अनावश्यक रूपमा सेना परिचालन गरेको भन्दै मुद्दा हालेका छन् ।

न्यूसम र लस एन्जलस सहरकी मेयर क्यारेन बासले स्थानीय प्रहरी स्थिति नियन्त्रणमा लिन सक्षम रहेको जिकिर गर्दै आएका छन् । गभर्नरको स्वीकृति बेगर सेना खटाएको भन्दै राज्यका महान्यायाधिवक्ताले राष्ट्रपति ट्रम्पलाई मुद्दा हालेका हुन् ।

यसअघि परिचालित २ हजार न्याशनल गार्डमध्ये केवल ३ सय मात्र खटिएको र बाँकी विना आदेश त्यत्तिकै बसिरहनु परेको अवस्थामा ट्रम्पले थप २ हजार परिचालन गरेको उनले बताए । साथै सङ्घीय कर्मचारी तथा भवनहरूको सुरक्षाका लागि भन्दै ट्रम्पले ७ सय मरिन सैनिक पनि खटाउने भनेका छन् ।

गभर्नर न्यूसमले ती मरिनहरू ‘निरङ्कुश राष्ट्रपतिको बहुलठ्ठीपूर्ण कल्पना पूरा गर्न’ खटिन लागेको बताए । यसबीच अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जाल एक्समा टिप्पणी गर्दै सेना खटाउने राष्ट्रपतिको कदमको बचाउ गरेका छन् । अमेरिकामा घरेलु शान्ति सुव्यवस्थाका मामिलामा सेना खटाइनु निकै अस्वाभाविक ठानिन्छ ।

जसपा कर्णाली प्रदेश अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

मंगलबार बिहान खुमलटारस्थित अध्यक्ष प्रचण्ड निवासमा आयोजित विशेष कार्यक्रममा प्रचण्डले नयाँ प्रवेशकर्ताहरूलाई पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गर्दै समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरीहरू सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताए ।

उनले सो अभियानमा यस प्रकारको पार्टी प्रवेश र समायोजनले थप ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे । साथै उनले माओवादी केन्द्र प्रति आकर्षक बढ्दै गएको उल्लेख गर्दै पार्टीमा समायोजन हुन आउने हरूलाई उचित जिम्मेवारी दिइने बताए ।

नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नेपाल बैक लिमिटेड सञ्चालक समितिका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीविरुद्ध रूपन्देहीको सिद्धार्थनगर–१ बेलहियास्थित भुसाल हस्पिटालिटीअन्तर्गतको र्याडिसन प्रोजेक्टको बैंकबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिनेभन्दै १९ लाख रुपैयाँ घुस लिएको उजुरी परेको थियो । त्यसपछि अख्तियारले अनुसन्धान पूरा गरेर मुद्दा दायर गरेको हो ।

घुसबापतको १९ लाख रुपैयाँ भारतीय नागरिक लक्की भन्ने खुस नसिब अन्सारीमार्फत् अधिकारीले लिएको देखिएको अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको छ।

काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सुरु विन्दु डुकुछाप राख्न प्रधानमन्त्रीलाई सुझाव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको सुरु विन्दु विवाद र समाधानका उपायबारे ललितपुरको खोकना र बङुमतिका स्थानीयबासीका प्रतिनिधिसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा सोमबार प्रधानमन्त्री ओलीलाई तत्कालीन खोकना गाविसका पूर्वअध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा (एमाले) ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डङ्गोल, एमाले ललितपुर महानगर वडा नम्बर २१ कमिटीका अध्यक्ष ज्ञानभक्त महर्जनसहितले भेटेर समस्या र समाधानको विकल्पबारे सुुझाव दिएका हुन् । सरोकार समितिले खोकनामा सुरु विन्दु कायम गर्दा परम्परागत सभ्यता र संस्कृति मासिने भएकाले उक्त स्थलभन्दा साढे पाँच किलोमिटर तल डुकुछापमा कायम गर्न विकल्प दिएको छ ।

रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारी र नेपाली सेनाका प्रतिनिधिसमेत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले स्थानीय जनतालाई मर्का पर्ने गरी विकास गर्ने सरकारको ध्येय नभएको स्पष्ट गर्दै समस्याको समाधानका लागि निर्णयमा पुग्नुपूर्व आफू एक पटक स्थलगत अवलोकनमा आउने जानकारी गराए ।

यसअघि प्रधानमन्त्री ओलीले गत माघ २३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र उच्चाधिकारीको सहभागितमा आयोजनाको प्रगति र देखिएका समस्या समाधानका लागि छलफल गरेका थिए ।

कूल ७० दशमलव ९७ किलोमिटर दूरीको दुई खर्ब ११ अर्ब ९३ करोड लागतमा बन्ने सो सडक आयोजना विसं २०७४ मा सुरु भएको हो । आयोजना सम्पन्न गर्नुपर्ने संशोधित अवधि २०८३ चैत मसान्तसम्म रहेको छ ।

प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । आधा घण्टाका लागि स्थगित भएको बैठक दलहरूबीच सहमति नजुटेका कारण बुधबारसम्मका लागि स्थगित भएको हो ।

अर्को बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको । यसअघि मंगलबारको संसद् बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो । निर्धारित समयभन्दा करिब साढे १ घण्टापछि सुरु भएको बैठकमा विपक्षी दलका सांसदहरुले उठेर विरोध गरेपछि केहीबेरमै आधा घण्टाका लागि स्थगित भएको थियो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरुले सदन अवरुद्ध गर्दै आएका छन् । जसका कारण बजेटमाथिको छलफलसमेत सुरु हुन सकेको छैन ।

राष्ट्रियसभाबाट पानी जहाज विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा भैतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राखेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

त्यसअघि बैठकले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो । उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरु सुरेशकुमार आले मगर, रुक्मिणी कोइराला, तारामान स्वाँर, डा बेदुराम भुसाल र विष्णुबहादुर विश्वकर्माले भाग लिएका थिए ।

सो प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले प्रस्तुत विधेयकले आन्तरिक जलमार्गमा जलयान सञ्चालन गर्न मार्गप्रशस्त गर्ने तथा जलमार्गमार्फत नेपालको पहुँच समुद्रसम्म पुग्ने विश्वास व्यक्त गरे ।

खेल पर्यटनलाई अगाडि बढाउने गण्डकी प्रदेश सरकारको नीति छः मुख्यमन्त्री पाण्डे

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनलाई अगाडि बढाउने गण्डकी प्रदेश सरकारको नीति रहेको बताएका छन् ।

गोरखा सदरमुकाममा आजदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि सक्दो पहल र प्रयत्न गरिरहेको बताए । खेल क्षेत्रको विकास गर्न सानाठूला सबै प्रकारका खेलकुद प्रतियोगिताका लागि प्रदेश सरकारले सहयोग गर्दै आएको उनले बताए ।

“सीमित स्रोतसाधनका कारण प्रदेश सरकारले धेरै गर्नसक्ने अवस्था छैन, तरपनि प्रदेश सरकारले खेलप्रतिको आफ्नो दायित्वलाई सम्झेर केही न केही गरिरहेको छ”, उनले भने ।

गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीलाई मासिक भत्ताको व्यवस्था गर्दै आएको सो अवसरमा मुख्यमन्त्री पाण्डेले जानकारी दिए । पछिल्लो समय खेल क्षेत्रबाट नै आफूलाई अगाडि बढाउन चाहे पहिला जस्तो खेलाडी भोकै बस्नुपर्ने अवस्था अहिले नरहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री पाण्डेले खेलाडीलाई खेल अवधिभरका लागि प्रदेश सरकारले बीमासहित प्रोत्साहन भत्ता र रेफ्रीका लागि स्थायी बीमाको व्यवस्था गरेको जानकारी दिए । प्रदेशले पोखरा आसपासमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने तयारी गरे पनि जग्गा उपलब्ध हुन नसकेको मुख्यमन्त्री पाण्डेले बताए ।

“खेलकुद मैदान निर्माण गर्न प्रदेश सरकारको तर्फबाट लगानी गरिएको छ, हाम्रो लगानीमा निर्माण भइरहेको मुस्ताङको हाइ अल्टिच्युट खेल मैदानलाई अहिले सङ्घीय सरकारले पनि अपनत्व लिने प्रयत्न गरेको छ”, उनले भने ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, प्रदेशसभा सदस्य सुशीला सिंखडा, गोरखा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरलगायतको सहभागिता रहेको थियो ।

ऊर्जामन्त्री खड्काद्वारा गण्डक नहर सिँचाइ आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पश्चिम नवलपरासीमा रहेको नेपाल गण्डक पश्चिम नहर सिंचाई आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उदघाटन गरेका छन् । नेपाल गण्डक पश्चिम नहर सिंचाई व्यवस्थापन कार्यालयले आज नवलपरासीको सेमरीमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्का र उक्त क्षेत्रका सांसद विनोद चौधरीले उक्त बेसिनको संयुक्त रुपमा उदघाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री खड्काले पश्चिम नवलपरासीका नागरिकले भोगेको डुवान र सिंचाइको समस्या समाधानका लागि आफू प्रतिवद्ध रहेको बताएका छन् ।

‘यस क्षेत्रका माननीयज्यूले मलाई यो कार्यक्रममा आउनुअघि नै भनिसक्नुभएको छ कि यहाँ रहेका ६ वटा नदीहरुमा तटबन्ध गर्नुछ, त्यसका लागि पर्याप्त बजेटको आवश्यकता छ, यसका लागि सरकार गम्भीर रहेको’, उर्जामन्त्री खड्काले बताए ।

मन्त्री खड्काले पश्चिम नवलपरासीमा आफू मन्त्री भएपछि दोस्रो पटक आएको र यहाँका समस्यासँग आफू जानकार रहेको बताए ।

उनले सांसद विनोद चौधरीजस्तो राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा स्थापित व्यक्ति यो क्षेत्रले पाउनु गौरवको विषय भएको बताएका छन् ।

कार्यक्रममा पश्चिम नवलपरासी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विनोद चौधरीले अब साविक भन्दा नहरबाट पाँच गुणा बढि भूमिमा सिंचाई सुविधा उपलब्ध हुने भएपछि किसान लाभान्वित हुने जानकारी दिए ।

‘यो नहर पूर्ण सञ्चालनमा आउने व्यवस्था मिलाएपछि नवलपरासीका किसानको मुहारमा भरिएको खुसी देख्न पाउँदा मलाई अत्यन्तै सन्तुष्टि मिलेको छ । ‘यहाँका नागरिकले ३५ वर्ष सिचाईँका लागि जुन संघर्ष गर्नुपरेको थियो, तपाईहरुको पिडासँग जोडिएको त्यो वेदनालाई अब सम्बोधन भएको छ,’ उनले भने ।

सांसद चौधरीले उक्त क्षेत्रको डुवानको समस्या समाधानका लागि सरकारले आवश्यक वजेट विनियोजन गरेर दिर्घकालिन समाधान निकाल्नसमेत मन्त्री खड्कालाई आग्रह समेत गरेका थिए ।

‘सैलुङ अल्ट्रा रेस’ यसै साता हुने

काठमाडौँ । सुनापति सैलुङ अल्ट्रा म्याराथन दौड समितिको आयोजना तथा एथलेटिक्स परिवार नेपालको समन्वयमा तेस्रो संस्करणको ‘सैलुङ अल्ट्रा रेस’ यसै सातादेखि हुने भएको छ ।

यही जेठ ३१ गतेदेखि रामेछापमा आयोजना हुने उक्त प्रतियोगितामा महिला तथा पुरुषतर्फ खुल्ला ५५ किलोमिटर दौड र पाँच किलोमिटर दौड सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक एवं सुनापति सैलुङ अल्ट्रा म्याराथन दौड समितिका अध्यक्ष लालबहादुर मगरले जानकारी दिए ।

उक्त अल्ट्रा दौड प्रतियोगिता सुनापाति–३ साँदी डाँडाबाट सुरु भई सुनापाति डाँडा, लहरे माने, भागे डाँडा, खाँडादेवी मन्दिर, गाल्पा भन्ज्याङ, अग्लेश्वर डाँडा, दोरम्बा बजार, सहिदपार्क, डाँडा कटेरी, घले डाँडा, दोरम्बा सैलुङ हुँदै वडा नं १ सैलुङमा आएर सम्पन्न हुनेछ ।

प्रतियोगितामा ५५ किलोमिटर दौडमा महिला तथा पुरुषतर्फ प्रथम हुने खेलाडीलाई रु एक लाख तथा दोस्रो हुने खेलाडीलाई रु ५० हजार पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने खेलाडीले रु २५ हजार प्राप्त गर्नेछ भने चौथोले रु १० हजार तथा पाँचौँ हुने खेलाडीले रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा करिब एक सय ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको  छ ।

७२ जिल्लामा फैलियो डेङ्गी

काठमाडौँ । मनसुन लागेसँगै डेङ्गी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ । सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या काठमाडौँमा देखिएको छ ।

काठमाडौँमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा सङ्क्रमित भेटिएका छन् । ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेङ्गीलाई शून्यमा नै ल्याउने र डेङ्गी गराउने लामखुट्टे सखाप नै पार्न भन्ने अवस्था सिर्जना गर्न नसकिए पनि नियन्त्रण भने गर्न सकिने बताए।

उनले भने, ‘डेङ्गीको सङ्क्रमण र मृत्युदर घटाउन सकिन्छ । यसका लागि सबै जनाको समन्वय आवश्यक हुन्छ । नागरिक, समुदाय, सरकारी–गैरसरकारी संस्था सबैले हातेमालो गर्नुपर्छ ।’ दाहालले यो वर्ष मनसुन छिट्टै सुरु भएको र मौसमविद्ले पानी धेरै पर्न सक्ने आकलन गरेकाले सङ्क्रमण बढ्न सक्ने सम्भावना रहने बताए।

‘यो वर्ष डेङ्गी सङ्क्रमण बढ्छ वा स्थिर रहन्छ भनेर आकलन गर्न हामीसित भेक्टरको पर्याप्त तथ्याङ्क छैन । यद्यपि मनसुन केही अघि सुरु भएको र धेरै पानी पर्ने भनिएको हुनाले पानी जम्मा हुने र सञ्चित भएर बस्ने र लामखुट्टेको विकास हुने सम्भावनालाई नकार्न मिल्दैन’, उनले भने।

दाहालकाअनुसार सबैले डेङ्गी नियन्त्रणमा सबैले आआफ्नो ठाउँबाट बराबर सहभागिता जनाए तीनै तहले डेङ्गी नियन्त्रणसम्बन्धी आवश्यक कार्यक्रम डेङ्गी सङ्क्रमण र यसबाट मृत्यु हुने दर पनि कम गर्न सकिन्छ । डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । डेङ्गीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।

यसबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नाले पानी जम्मा गरी राखिएका पानीको ट्याङ्की, ड्रम, गाग्री, बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्ने, आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानमा फाएिका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, टिका बट्टा, प्लास्टिकजन्य वस्तुहरु तथा पानी जन्म नसक्ने अन्य भाँडा तथा सामग्रीलाई पानी नजम्ने गरी व्यवस्थापन गर्न विज्ञको आग्रह छ ।

भिजिट भिसा प्रकरणमा सहमतिका लागि रास्वपाको पाँचबुँदे प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा सहमतिका लागि पाँचबुँदे प्रस्ताव अघि सारेको छ । रास्वपाले भिजिट भिसा प्रकरणको नीतिगत तथा व्यवहारिक समस्याबारे विस्तृत अध्ययनका लागि संसदीय छानबिन समिति बनाउन प्रस्ताव गरेको हो ।

पाँच बुँदामा समेटिएको प्रस्तावमा अख्तियारको अनुसन्धानलाई असर नगर्ने गरी संसदीय छानबिन गर्नुपर्ने, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स र नेपाली तथा विदेशी नियोगहरूको संलग्नता भएको आशंका हुँदा यसको व्यापक र बहुआयामिक अनुसन्धान गर्न पाँच दिनभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने, छानबिन समितिको कार्यक्षेत्र, संरचना, व्यवस्थापन र अधिकार निर्धारण गर्न कार्यसम्पादन समिति एक दिनभित्र गठन गर्ने, कार्यसम्पादन समितिले छानबिन समितिको कार्यविधि ५ दिनभित्र तय गरी समिति गठन गर्ने उल्लेख छ ।