`

फ्लोरिडामा युक्रेन–अमेरिका उच्चस्तरीय वार्ता

वेस्ट पाम बीच (फ्लोरिडा) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहपछि युक्रेन–रूस युद्धमा मध्यस्थता गर्न दवाब बढाइरहेका ट्रम्प प्रशासनका उच्च अधिकारीहरू यस सप्ताहन्त फ्लोरिडामा युक्रेनी वार्ताकारहरूसँग निरन्तर वार्तामा बसेका छन् । यो भेटवार्ताले आगामी दिनहरूमा मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने महत्त्वपूर्ण छलफलका लागि आधार तय गर्ने लक्ष्य राखेको छ ।

यस उच्चस्तरीय बैठकमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकफ तथा ज्वाइँ जारेड कुशनरले युक्रेनी प्रतिनिधिमण्डलसँग प्रस्तावित शान्ति संरचनाको मुख्य बुँदाहरूलाई थप स्पष्ट पार्न विस्तृत छलफल गरिरहेका छन् । सन् २०२२ मा सुरु भएको रूसी आक्रमणविरुद्ध हाल युक्रेनले प्रतिरक्षा मोर्चामा दबाब बढाइरहेको अवस्थामा यो वार्ता युक्रेनका लागि अत्यन्तै संवेदनशील घडीमा आएको हो ।

यँही बीच, फ्लोरिडा वार्ताको पूर्वसन्ध्यामा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफ्नो शक्तिशाली चिफ अफ स्टाफ एन्ड्री यर्माकले पदत्याग गरेको घोषणा गरेका छन् । यर्माक यतिबेलासम्म संयुक्त राज्य अमेरिकासँग चल्दै आएको वार्ताका प्रमुख प्रतिनिधिका रूपमा रहेका थिए । उनको निवासमा भ्रष्टाचारविरोधी अनुसन्धानकर्ताहरूले छापा मारेपछि उत्पन्न परिस्थितिले जेलेन्स्की सरकारमाथि थप आन्तरिक दबाब सिर्जना गरेको छ । ऊर्जा क्षेत्रमा ठेकेदारहरूले उपलब्ध गराएको अवैध किकब्याक मार्फत १० करोड डलरभन्दा बढी रकम हिनामिना भएको आरोपपछि सरकार आलोचनाको केन्द्रविन्दुमा रहेको छ ।

रुबियो र यर्माकबीचको जेनेभास्थित भेटभएको एक हप्तामात्रै भएको थियो, जसमा दुवै पक्षले संशोधित शान्ति योजनाको दिशामा भएको प्रगति सकारात्मक रहेको बताएका थिए । तर अहिले भने युक्रेनी वार्ताकारहरूको टोली पुनःव्यवस्थित गरिएको छ । राष्ट्रपति जेलेन्स्कीका अनुसार नयाँ टोलीमा युक्रेनका सशस्त्र बलका प्रमुख एन्ड्री हेनाटोभ, विदेशमन्त्री एन्ड्री सिबिहा तथा सुरक्षा परिषद्का प्रमुख रुस्टेम उमरोभ को समेत सहभागीता रहेको छ ।

यसबीच वासिङ्टन र मस्कोबीच विकसित गरिएको ट्रम्पको २८–बुँदे प्रस्तावित योजना परिमार्जनमा कूटनीतिज्ञहरूको ध्यान केन्द्रित छ । रूसपक्षीय मागहरूतर्फ अत्यधिक ढल्किएको भन्दै आलोचना गरिएको उक्त प्रारम्भिक ढाँचाले डोनबासको सम्पूर्ण क्षेत्र रूसलाई हस्तान्तरण गर्ने कल्पना गरेको थियो, जुन युक्रेनका लागि सर्वाधिक विवादित विन्दु बनेको छ । प्रस्तावमा युक्रेनको सेनाको आकारमा सीमा निर्धारण गर्ने, नाटोमा सदस्यता नदिनेजस्ता प्रावधानहरू थिए भने १०० दिनभित्र निर्वाचन आयोजना गर्नुपर्ने बाध्यता पनि समावेश थियो । वार्ताकारहरूले केही बुँदामा परिमार्जन भएको सङ्केत गरिरहेका छन्, तर परिवर्तनको स्पष्ट स्वरूप हालसम्म खुलाइएको छैन ।

यँही क्रममा, शनिबार किएभ र आसपासका क्षेत्रमा रूसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा कम्तीमा तीनजनाको मृत्यु भएको र दर्जनौँ नागरिक घाइते भएको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन् । युद्धको दबाबबीच भइरहेको वर्तमान वार्ताले स्थिति झन् जटिल बनाएको छ ।

राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा युक्रेनी प्रतिनिधिमण्डलले ‘युद्ध अन्त्यका लागि आवश्यक कदमहरू छिटो र प्रभावकारी रूपमा अघि बढाउनेछ’ भनेर आशा व्यक्त गरेका छन् ।

विवेकशील साझाका नेता मिलन पाण्डे किन गएनन् रास्वपासँगको एकतामा ?

काठमाडौं । विवेकशील साझाका नेता मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकीकरणमा सहभागी नहुने भएका छन् । ‘विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नु भएको सबै साथीहरूलाई शुभकामना छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म यो एकीकरणमा सामेल छैन ।’ अब केही समय मौन रहने र नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्ने उनले बताएका छन् ।

‘अब केही समय (केही दिन वा केही महिना) ‘कुलिङ पिरियड’ लिन्छु । त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेछु’ उनले लेखेका छन्, ‘आजदेखि म पनि ‘स्वतन्त्र’ भएँ । विवेकशील पनि ‘स्वतन्त्र’ भयो ।’ आज मात्रै रास्वपा र विवेकशील साझा पार्टीबीच एकीकरण हुँदैछ । राष्ट्रिय सभागृहमा दिउँसो २ बजेका लागि एकता घोषणासभा आयोजना गरिएको छ । एकता घोषणासभा अगाडि नै पाण्डेले आफ एकीकरण प्रक्रियामा सहभागी नरहेको बताएका हुन् ।

गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको सुझाव : नेपालमा पनि टेक्ने ठाउँ राख्नुस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा बस्ने नेपालीहरुलाई नेपालमा भएको सम्पती बेचबिचन गरेर नलैजान आग्रह गरेकी छन् । आइतबार आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उनले नेपालमा आफ्नो सम्पती सुरक्षित राख्न आग्रह गरेकी हुन् ।

गैरआवासीय नेपालीलाई सरकारले दोस्रो दर्जाको नागरिकको रुपमा नहेरेको बताउँदै उनले विदेशमा रहेका नेपालीको सम्पतीको सुरक्षा सरकारले गर्ने बताइन् । उनले हाल विश्वभर बाहिरका मान्छेलाई बस्न नदिने खालको चलन चलेको उल्लेख गर्दै नेपालमा एउटा कोठा मात्रै भए पनि सुरक्षित राख्न आग्रह गरिन् । उनले सरकारले गैरआवासीय नेपालीहरुका समस्या विस्तारै सम्बोधन हुँदै जाने पनि बताइन् । गैरआवासीय नेपालीहरुले विगतमा पनि सहयोग गरेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि लगानी गर्न आग्रह गरिन् ।

उनले भनिन्, ‘जो विदेशमा हुनुहुन्छ, उहाँहरुले नेपालमा एउटा आफ्नो स्थान चाहीँ राख्नुपर्छ, यहाँ मेटाउनु हुँदैन । चाहे एउटा फ्ल्याट नै किन नहोस् । एउटा राख्नुपर्छ, आफ्नो टेक्ने ठाउँ । हालकी त्यो सुविधा अहिले नै नमिल्ला, अहिले फेरि कीर्ते भएर विदेशमा हुनेका जग्गा जमिन एउटाले अर्कोको नाममा पास गरिदिएर बेचिदिएर मान्छे एकातिर छ, यहाँ बेचिदिएर । त्यो सुविधा छैन, तर विस्तारै मिल्ला त्यो सुविधा पनि, सेक्युरिटी हुन्छ नी सुरक्षा । विदेशमा बस्नेहरुको सम्पतिको सुरक्षा । त्यो त नमिलाई हुँदैन । तर आफ्नो स्थान चाँही यहाँ राख्नुपर्छ के टेक्ने ठाउँ । यसो खुट्टाले टेक्ने ठाउँ, एउटै खुट्टाले मात्रै टेक्ने ठाउमा मात्रै पनि किन नहोस् । आएर यसो बस्ने दुईचार दिन । त्यो चाहीँ हुनुपर्छ भन्ने मलाई लाग्छ ।’ उनले गैरआवासीय नेपाली संघको एकताले नेपालमा रहेका राजनीतिक दलहरुलाई एकता गर्नुपर्ने सन्देश दिएको उल्लेख गरिन् । नेपालमा राजनितिक दलहरुमा विभाजन देखिएको उल्लेख गर्दै उनले विभाजनले कसैलाई पनि राम्रो नगर्ने बताइन् ।

 

सदस्यलाई जिम्मेवारी सुम्पेर अमेरिका उडेका वडाध्यक्ष उतै ‘गायव’

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का वडाध्यक्ष शिवबहादुर थापा २७ महिनादेखि सम्पर्कविहीन बनेपछि स्थानीय तहमा नैतिकता, जवाफदेहीता र प्रशासनिक कमजोरीबारे गम्भीर प्रश्न उठिरहेका छन् । स्वास्थ्य उपचारका लागि विदेश जानुपर्ने भन्दै २०८० भदौ १५ मा उनले वडा सदस्य लिलावती पौडेललाई कार्यवाहक जिम्मेवारी हस्तान्तरण गरेका थिए । आर्थिक वर्ष २०८०/८१ को चलानी नम्बर १६७ मा दर्ता पत्रमार्फत थापाले ‘दैनिक रूपमा उपस्थित हुन नसक्ने’ भन्दै प्रत्यायोजित अधिकार दुरुपयोग नहुने गरी कार्यवाहक तोकिएको उल्लेख गरेका थिए । यही पत्र प्रशासन, अदालत र नगरपालिकामा समेत पठाइएको थियो ।

तर पत्र पठाएको महिना दिनमै थापा अमेरिका पुगे र त्यसयता उनी वडासँग, पालिकासँग वा पार्टीसँग कुनै सम्पर्कमा नरहेको बुझिएको छ । नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीका अनुसार थापाको अवस्था वा स्थानबारे नगरपालिकासँग कुनै आधिकारिक खबर छैन ।
यसबीच, थापाले विदेशमै बसेर पनि झण्डै १० महिना सेवा–सुविधा भुक्तानी पाएका छन् । प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाका अनुसार २०८० भदौदेखि २०८१ असार मसान्तसम्म थापाको बैंक खातामा यातायात, पत्रपत्रिका, मोबाइल रिचार्ज, अतिथि सत्कार, समन्वय सहजीकरण, बैठक तथा अनुगमन जस्ता शीर्षकमा २ लाख ७६ हजार १९० रुपैयाँ जम्मा गरिएको तथ्यांक छ । ढुङ्गानाका अनुसार २०८१ साउनदेखि मात्रै पालिकाले सेवा–सुविधा रोकिएको हो ।

कार्यवाहक वडाध्यक्ष लिलावती पौडेल भने निरन्तर अनिश्चिततामा छिन् । थापा फर्कने कि नफर्कने स्पष्ट नभए पनि उनले नियमित काम रोक्न नसकिने बताउँछिन् । ‘जनताको काममा धक्का नपरोस् भनेर म निरन्तर वडामै व्यस्त छु’, उनले सुनाइन् । थापा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । तर विदेश जाने निर्णयमा पार्टीलाई समेत जानकारी नदिएको कांग्रेसका नगर सभापति सुरजकुमार अधिकारी बताउँछन् । ‘उनले पार्टीसँग कुनै छलफल नगरी हराए जस्तै भएका छन्’, अधिकारीले गुनासो गरे। जनप्रतिनिधि भएर विदेशिनु, लामो समयसम्म सम्पर्कविहीन रहनु, पालिकाले निरन्तर सुविधा भुक्तानी गर्नु र नगरपालिकाले समेत वडाध्यक्षको अवस्थाबारे अज्ञानता प्रकट गर्नुले स्थानीय शासन व्यवस्थाकै विश्वसनीयता र पारदर्शिता प्रश्नचिन्हमा परेको छ । पुतलीबजार–४ मा केवल वडाध्यक्ष मात्र होइन, समग्र स्थानीय प्रशासनिक संयन्त्र नै थापाको ‘गायब’ यात्रासँगै आलोचनाको घेरामा परेको छ ।

 

 

विराटनगर किंग्समा आबद्ध दक्षिण अफ्रिकी ब्याटर डू प्लेसिसले आईपीएल नखेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगर किंग्समा आबद्ध दक्षिण अफ्रिकी ब्याटर फाफ डू प्लेसिसले यस वर्ष हुने इण्डियन प्रिमियर लिग (आईपीएल) अक्सनमा सहभागी नहुने निर्णय गरेका छन् । उनले आगामी संस्करणको लिलामीबाट आफ्नो नाम फिर्ता लिएका छन् । डू प्लेसिसले यस सम्बन्धमा जारी गरेको आफ्नो वक्तव्यमा १४ सिजन आईपीएल खेलेपछि यो वर्षको लिलामीमा आफ्नो नाम नराख्ने निर्णयमा पुगेको जनाएका हुन् ।

आफूले भारतबाट मित्रता, सम्झना, पाठ (लेसन) र एक क्रिकेटर तथा एक व्यक्तिको रूपमा स्वरुप पाएको उनले उल्लेख गरेका छन् । उनले आफूले यो वर्ष नयाँ र चुनौतीपूर्ण निर्णय लिएको उल्लेख गर्दै पाकिस्तानको पाकिस्तान सुपर लिग (पीएसएल) को आगामी सिजनमा खेल्ने जनाएका छन् ।
उनले आफू पाकिस्तानको आतिथ्यताको प्रतिक्षामा रहेको पनि उल्लेख गरेका छ्न् । डू प्लेसिसले सन् २०१२ मा चेन्नई सुपर किंग्सको तर्फबाट आईपीएलमा डेब्यू गरेका थिए । आफ्नो पहिलो सिजनमा उनले ३९८ रन बनाएका थिए । दक्षिण अफ्रिकाका पूर्व कप्तान समेत रहेका डू प्लेसिससँग विश्वभरका फ्रेन्चाइज क्रिकेट लिग खेलेको अनुभव छ । उनले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा रोयल च्यालेन्जर्स बेंगलुरुबाट २०२२ देखि २०२४ सम्म प्रतिस्पर्धा गरेका थिए ।
उनले १५४ आईपीएल खेल खेलेका छन् । चेन्नई सुपर किंग्ससंग दुई पटक उपाधि जितेका छन् । गत वर्ष उनले दिल्ली क्यापिटल्सका लागि ९ खेलमा २०२ रन बनाएका थिए र दुई खेलमा टिमलाई कप्तानी समेत गरेका थिए ।

उनले भविष्यमा आईपीएलमा फर्किने सम्भावना खुला राख्दै भने, यो बिदाइ होइन, फेरि भेटिन्छौं । फाफ डु प्लेसिस दक्षिण अफ्रिकी राष्ट्रिय टोलीका पूर्वकप्तान हुन्। उनले टेस्ट, एकदिवसीय र टी–२० तिनै प्रारूपमा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई विश्व क्रिकेटका अग्रणी ब्याट्सम्यानका रूपमा स्थापित गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट अवकाश लिएपछि उनले विश्वभरका फ्रेन्चाइज लिगहरूमा धमाकेदार प्रदर्शन गर्दै आएका छन् । उनको अनुभव र ब्याटिङ क्षमताले नेपाल प्रिमियर लिगमा नै नयाँ ऊर्जा ल्याउने अपेक्षा गरिएको छ । विराटनगर किंग्सले डु प्लेसिसको आगमनले टोलीको शक्ति अब बाँकी खेलमा बलियो बन्ने आशा व्यक्त गरेको छ ।

 

 

मल्कवाङमा पहिलोपटक बस पुग्यो

म्याग्दी  । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका-५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ । सदरमुकाम बेनीबजारबाटयात्रु बोकेर शनिबार पहिलोपटक ध१ख ३०८ नम्बरको बस मल्कवाङ पुगेको हो ।

बसका धनी जगत दगामी मगर र चालक श्याम मिजारलाई स्थानीयले अबिर र माला लगाएर स्वागत गरेका छन् । धवलागिरि-५ मल्कवाङका वडाध्यक्ष अमर छन्तयालसहित जनप्रतिनिधि, स्थानीय अगुवा, आमा समूह र युवा क्लबका प्रतिनिधिहरूले चालक र सवारीधनीलाई स्वागत गर्नुका साथै खुसीयाली मनाएका हुन् ।

वडाध्यक्ष छन्त्यालका अनुसार विसं २०७८ मा सडक सञ्जालमा जोडिएको मल्कवाङमा यसअघि जिप, ट्याक्टर र मोटरसाइकल मात्र आउने गरेका थिए । गाउँपालिकामार्फत बर्खामा अवरुद्ध सडक मर्मत गर्ने क्रममा अप्ठ्यारो ठाउँमा ग्रेड र घुम्ती मिलाएर बस सञ्चालन गर्न मिल्ने बनाइएको उनले बताए ।

सडक सञ्जालमा जोडिएको पाँच वर्षपछि मल्कवाङमा बस सञ्चालन हुन थालेको हो । बस सञ्चालन भएपछि स्थानीयवासीले जिपको तुलनामा सस्तो भाडादरमा यात्रा गर्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् । यसअघि जिपमा मल्कवाङ–बेनी यात्रा गर्दा प्रतिव्यक्ति रु एक हजार भाडा तिर्नुपर्ने बाध्यता थियो ।

बसका लागि प्रतिव्यक्ति भाडादर रु सात सय ५० कायम गरिएको वडाध्यक्ष छन्तयालले जानकारी दिए। “बेनीबाट मल्कवाङसम्मको दूरी ४५ किमी छ । बस सेवा सञ्चालन भएसँगै मल्कवाङ, भेडिखाल्डा, कुइनेखानी, आरवाङ, घण्टीवाङका तीन सयभन्दा बढी परिवार लाभान्वित भएका छन्”, उनले भने ।

असारदेखि असोजबाहेक आठ महिना बस सञ्चालन गर्न मिल्ने गरेर सडक बनाइएको वडाध्यक्ष छन्त्यालले बताए । म्याग्दी यातायात प्रालिले बेनीबाट हरेक बिहान ७ः०० बजे र मल्कवाङबाट बिहान ८ः०० बजे प्रत्येक दिन एउटा–एउटा बस छुट्ने जनाएको छ ।

यसअघि मल्कवाङ, भेडिखाल्टा, आरवाङ, घण्टीवाङ, कुइनेखानीका बासिन्दा पैदलयात्रा गरेर मराङ बेँसी पुगेर बस चढ्ने गर्दथे । मल्कवाङबाट भेडीखाल्टालाई सडक सञ्जालमा जोड्नका लागि धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षको योजना कार्यान्वयनको तयारी गरेको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । उनका अनुसार उक्त खण्ड विस्तार तथा स्तरोन्नतिका लागि यस वर्ष रु ३० लाख विनियोजन भएको छ ।

भेडिखाल्टामा पनि हालसम्म सडक पुगेको छैन । गण्डकी प्रदेश सरकारले मालिका गाउँपालिकाको बिमलुरवाङ, मराङबेँसी, अर्वाङ हुँदै मल्कवाङ जोड्ने सडक स्तरोन्नतिका लागि बहुवर्षीय योजना सञ्चालन गर्ने लक्ष्यसहित चालु आवमा रु एक करोड विनियोजन गरेको छ ।

प्रदेशसभा सदस्य रेशम जुग्जालीले उक्त बजेटलाई २० प्रतिशत मानेर रु पाँच करोड स्रोत सुनिश्चितता गराई बहुवर्षीय ठेक्का आह्वान गर्नुपर्ने धारणा राखे । लुरवाङबाट मल्कवाङ खण्डको अप्ठ्यारो ठाउँको सडकलाई स्तरोन्नति गरेर सहज बनाउन पहल गरिरहेको उनले जानकारी दिए ।

प्रधानमन्त्रीको उपस्थितिमा चार वर्षपछि एनआरएनए एकता घोषणा

काठमाडौं । विभाजन भएको चार वर्षपछि गैरआवासी नेपाली संघ (एनआरएनए) को वृहत एकता घोषणा गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आइतबार संघको एकता घोषणा गरिएको हो । विभाजित संघमा अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले एकताको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । १० औं महाधिवेशनबाट सुरु भएको सदस्यतासम्बन्धी विवादले संघ विभाजनमा पुगेको थियो ।

१० औं र ११ औं महाधिवेशनमा निर्वाचित भएका दुबैतिरका समितिलाई मान्यता दिने, १२ औं महाविधेशन गर्नको लागि अध्यक्ष केसी र श्रेष्ठ रहेको स्टेयरिङ कमिटी गठन गर्ने, अदालतमा दुवै पक्षले गरेका मुद्दा मामिला फिर्ता गर्ने, सदस्यता वितरणको लागी समय थप गर्ने लगायतका सहमति भएको छ । ‘लामो समयदेखिको प्रयासले सार्थकता पाएको छ । एकताको मूल सहमति पत्रमा हस्ताक्षर भइसकेको छ । आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्रीको उपस्थितिमा एकताको घोषणा भयो,’ एनआरएनएका एक नेताले भने, ‘अब विश्वभरका एनआरएनको नेतृत्व महेश श्रेष्ठले गर्नु हुनेछ ।’

यसअघि विभिन्न समयमा एनआरएनको आधिकारिकता लगायतका विषयमा सबै पक्षले अदालतमा दायर गरेका मुद्दा फिर्ता लिने सहमति पनि भएको छ । १० बुँदे मूल सहमति परराष्ट्र मन्त्रालयका प्रतिनिधिको रोहवरमा हस्ताक्षर गरिएको छ । त्यसलाई परराष्ट्र मन्त्रालयमा अभिलेखित गर्ने सहमति पत्रमै उल्लेख छ । १० बुँदे सहमतिको कार्यान्वयन संघको विधान अनुसार गर्ने, कुनै विषयमा विवाद उत्पन्न भए परराष्ट्र मन्त्रालयसँगको समन्वय र सहमतिमा समाधान गर्ने तथा सहमतिका सवै बुँदाहरूलाई संघको आगामी १२औं महाधिवेशनबाट अनुमोदन गराउने भनिएको छ ।

सहमतिको पहिलो बुँदामा २०२३ अक्टोबर १७–२० मा सम्पन्न एघारौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित डा. बद्री केसीको नेतृत्वको कार्यसमितिलाई स्वीकार गर्ने तथा संघका पूर्वअध्यक्ष डा. शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिद्वारा २०२५ मे ३–४ मा आयोजित एकता महाधिवेशनबाट महेशकुमार श्रेष्ठको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई स्वीकार गर्ने उल्लेख छ । सहमतिको दोस्रो बुँदामा गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन १७ अप्रिल २०२६ सम्ममा सम्पन्न गर्ने र त्यसका लागि महेशकुमार श्रेष्ठको नेतृत्वमा बनेको समितिको कार्यकाललाई पूर्ण कार्यकाल मानिने भनिएको छ ।

 

नेतृत्व निर्माणमा स्वस्थ र मित्रवत् प्रतिष्पर्धा गर्छौं : ईश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११ औं राष्ट्रिय महाधिवेशनमा स्वस्थ र मित्रवत् प्रतिस्पर्धा गर्ने बताएका छन् । भूगोल तथा विशेष कमिटीबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरूलाई शुभकामना दिँदै पोखरेलले जनताको बहुदलीय जनवादको रक्षा र पार्टी जीवनको लोकतान्त्रीकरणको कुरालाई प्रभावकारी ढंगले अगाडि बढाउने बताएका हुन् ।

‘एमाले जनताको बहुदलीय जनवादको रक्षा र पार्टी जीवनको लोकतान्त्रीकरण कुरालाई प्रभावकारी ढंगले अगाडि बढाउन चाहन्छ । यी काम गर्दै मुलुकमा समृद्धिको एउट अभियानलाई अगाडि बढाउन चाहन्छ,’ उनले सामाजिक सञ्जालमार्फत् भिडिओ सन्देश जारी गर्दै भनेका छन्, ‘यो ११ औं राष्ट्रिय महाधिवेशन यो काममा महत्वपूर्ण निष्कर्षमा पुग्न सकोस् यो सँगसँगै नेतृत्व निर्माणमा स्वस्थ, मित्रवत् प्रतिस्पर्धालाई हामीहरू अगाडि बढाउन चाहन्छौं । यो महाधिवेशनमा यी कामहरू गर्न सकौं ।’ पोखरेलले यो महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने यसअघि नै बताइसकेका छन् ।

नेपालमा ३४ हजार ३३७ जना एचआईभी संक्रमित : कति छ महिला–पुरुषको संख्या ?

काठमाडौं । नेपालमा एचआईभी संक्रमितको संख्या ३४ हजार ३३७ जना रहेका छन् । आइतवार विश्व एड्स दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले यसबारे जानकारी गराएका हुन्। उनकाअनुसार कुल संक्रमितमध्ये १५ वर्ष भन्दा माथिका ३३ हजार २ सय ७९ जना रहेका छन् । त्यस्तै १५ वर्ष माथिका १४ हजार जना महिलाहरुमा एचआइभी संक्रमण छ । उनले १५ वर्ष भन्दा माथिका एचआइभी संक्रमित पुरुषहरुको संख्या १९ हजार २ सय ७९ रहेको छ । एक हजार ५८ जना एचआइभी पोजेटिभ बालबालिकाहरु रहेका छन् ।

गत एक वर्षमा आमालाई एचआइभी परीक्षण गर्दा २ सय २७ जना बालबालिकाहरु संक्रमित फेला परेका छन् । सन् २००० देखि २०२४ सम्म आउँदा नयाँ संक्रमण पनि ७६ प्रतिशतले घटेको डा. शर्माले बताए । सरदर दिनमा १.७ जना नयाँ संक्रमित थपिरहेका छन् भने दिनमा एक जनाको एचआइभीका कारण मृत्यु भइरहेको छ । डा.शर्माकाअनुसार ८८ प्रतिशत संक्रमितहरु औषधिको सेवन गरिरेका छन् । संक्रमितहरुमध्ये ७६ प्रतिशतले शरीरमा भाइरसको मात्रा कति छ भनेर परीक्षण गरिरहेको बताए । आगामी एक वर्षभित्र एचआइभी संक्रमणविरुद्धको रणनीति बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

 

आज पनि बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार २०० कायम भएको छ ।

आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार ४९० निर्धारण भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५० हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार ३४५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औंस सुन चार हजार १७५ र त्यति नै चाँदै ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

नार्कका सात वैज्ञानिकसहित ११ कर्मचारी सम्पर्कविहीन, लगानी रकम असुलिने चेतावनी

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषदका ११ कर्मचारी सम्पर्कविहीन भएका छन् । अध्ययन बिदामा बसेका सात वैज्ञानिकसहित ११ कर्मचारी बिदा सकिएपश्चात हाजिर हुन आउनुपर्नेमा सम्पर्कविहीन रहेको नार्कले सूचना जारी गरी जानकारी दिएको छ ।

वैज्ञानिकहरू अच्युत मिश्र २०७४ भदौदेखि, नवीनकुमार दंगाल २०७६ भदौदेखि, होमन रेग्मी २०७३ माघदेखि, देवराज चालिसे २०७३ चैतदेखि, प्रतिष्ठा अधिकारी २०७४ मंसिरदेखि, दिनेशबाबु थापा मगर २०७५ साउनदेखि र संजिव गौतम २०७५ भदौदेखि सम्पर्कविहीन छन् ।

त्यस्तै अन्य कर्मचारीहरू सुमन कार्की, उज्ज्वल सुवेदी, अतित पराजुली र अस्मिता श्रेष्ठ पनि विभिन्न मितिदेखि बिदामा रही सम्पर्कविहीन रहेको नार्कले जनाएको छ । उनीहरु अध्ययन बिदा स्वीकृत गराई कबुलियतनामा गरी अध्ययनमा गएको तर बिदापश्चात हाजिर हुन आउनुपर्नेमा आ–आफ्नो पदबाट राजीनामा पेस गरेको नार्कले जनाएको छ । नार्कले उनीहरूलाई कर्मचारी प्रशासन विनियम २०४९ को विनियम ४० (२)को कसुरमा नोकरी टुटेको सम्झी सेवाबाट किन अलग नगर्ने भनेर स्पष्टीकरण सोधेको छ । नार्कले सेवाबाट नहटाउनुपर्ने कुनै कारण र प्रमाण भए सात दिनभित्र आफै उपस्थित भई स्पष्टीकरण बुझाउन ती कर्मचारीहरूलाई आग्रह गरेको छ ।

वीर अस्पतालदेखि जमलसम्मको फुटपाथमा धराप (तस्वीरहरु)

काठमाडौं । करिब साढे दुई वर्षदेखि काठमाडौं महानगरपालिका–२७ अन्तर्गत वीर अस्पतालबाट जमल जाने बाटोको फुटपाथ निर्माण नहुँदा अव्यवस्थित बनेको छ । फुटपाथ बनाउने भन्दै सामग्रीहरू राखिएको भए पनि काम नबढ्दा पैदल यात्रुले सघन यातायातसँगै जोखिम मोलेर हिँड्न बाध्य छन् ।

स्थानीयका अनुसार फुटपाथमा थुपारिएका निर्माण सामग्री र अव्यवस्थित संरचनाका कारण सडक अझै साँघुरो बनेको छ । वीर अस्पताल आसपास दैनिक ठूलो संख्यामा पैदल यात्रु ओहोरदोहोर गर्ने हुँदा समस्या झनै बढेको छ । सहरी क्षेत्रमा सुरक्षित हिँडडुलका लागि फुटपाथ अनिवार्य भए पनि काठमाडौंका धेरै भागमा यस्तै अवस्थाका कारण पैदल यात्रुको सुरक्षामा निरन्तर असर परेको छ ।
तस्वीरहरू : सफल प्रकाश श्रेष्ठ /नेपाल फोटो लाइब्रेरी

सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ : प्रधानमन्त्री कार्की

काठमाडौं । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा दिएको अभिव्यक्तिको आलोचना भएपछि प्रधानमन्त्री सुशीला कार्कीले स्पष्टीकरण दिएकी छन् । आज (आइतबार) सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले सबै धर्म वा समुदायप्रति आफ्नो उत्तिकै सम्मान रहेको स्पष्ट पारेकी हुन् ।

‘नमस्कार ! लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा मैले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएका रहेछन्’, उनले लेखेकी छन्, ‘कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन । सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ । शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ ।’

 

 

अपर अरुण जलविद्युत् : एनआरएन र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १३ अर्बको शेयर प्रस्ताव

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण भइरहेको १,०६३ मेगावाट क्षमताको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजना स्वदेशी लगानीमा अघि बढाउने तयारी तीव्र बनेको छ । नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा निर्माण हुने यस परियोजनामा करिब १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको शेयर गैरआवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याउने प्रस्ताव अनुमोदन गरिएको छ ।

आयोजनाको कुल लागत निर्माण अवधिको ब्याज बाहेक २ खर्ब १३ अर्ब २९ करोड रुपैयाँ र ब्याजसहित २ खर्ब ३९ अर्ब ७९ करोड पुग्ने अनुमान गरिएको छ । जसअनुसार ३० प्रतिशत अर्थात् ७१ अर्ब ९४ करोड इक्विटी र ७० प्रतिशत ऋणमार्फत वित्तीय संरचना तयार गरिएको हो । सात वर्ष निर्माण अवधि रहने परियोजनामा वार्षिक ७ प्रतिशत ब्याजदर मानिएको छ ।

प्रवर्द्धक कम्पनी अपर अरुण हाइड्रो–इलेक्ट्रिक लिमिटेडले तयार पारेको वित्तीय प्रस्ताव प्राधिकरण सञ्चालक समितिले पारित गरी सरकारले अघि बढाउने प्रक्रिया सुरु गरेको हो । इक्विटीको ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत साधारण शेयरमार्फत जुटाइनेछ । साधारण शेयरमध्ये १८ प्रतिशत एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, १० प्रतिशत आयोजना प्रभावित, १८ प्रतिशत देशभरका सर्वसाधारण, २ प्रतिशत पिछडिएको क्षेत्र र १ प्रतिशत प्राधिकरण कर्मचारीका लागि छुट्याइएको छ ।

आयोजनाको संस्थापक लगानीमा प्राधिकरणको २९ अर्ब ४९ करोड (४१ प्रतिशत) रहनेछ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, नेपाल टेलिकम, बीमा तथा पुनर्बीमा कम्पनी लगायत संस्थागत निकायबाट थप लगानी जुटाइनेछ । कुल ऋणमध्ये ४५ प्रतिशत सहुलियतपूर्ण सहवित्तीयकरण, ३० प्रतिशत ऊर्जा बन्ड, र बाँकी रकम बैंक तथा वित्तीय संस्थाबाट सहवित्तीयकरण गर्दै संकलन गर्ने योजना छ ।

व्यावसायिक उत्पादन सुरु भएको पहिलो वर्षमै २७ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । वार्षिक ३ प्रतिशत मूल्यवृद्धि मान्दा आयोजना अवधिभर ३४ अर्ब ५९ करोड आम्दानी पुग्ने प्रक्षेपण छ । प्रारम्भिक वर्षमा विद्युत् प्रतियुनिट औसत पीपीए दर ६.३ रुपैयाँ रहने र आठ वर्षपछि ७.८ रुपैयाँ पुग्ने अनुमान गरिएको छ। आयोजनाबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट विद्युत् उत्पादन हुनेछ । हाल परियोजनास्थलमा २१ किलोमिटर पहुँच सडक तथा ७० मिटर लम्बाइको स्टिल आर्क पुल निर्माण भइरहेको छ । भौगोलिक रूपमा जटिल क्षेत्र भएकाले पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको प्राधिकरणले जनाएको छ ।

देउवा निवासमा आज पनि पदाधिकारी छलफल, खाँणले बोलाए छुट्टै भेला

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको स्वरूप र समय निर्धारणलाई लिएर चलिरहेको रस्साकस्सी आज पनि तीव्र रूपमा अघि बढेको छ । सभापति शेरबहादुर देउवाले केही दिनदेखि सुरु गरेको पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँगको छलफल आज (आइतबार) पनि निरन्तरता पाउनेछ भने नियमित महाधिवेशन पक्षधर समूहले बालकृष्ण खाँणको नेतृत्वमा छुट्टै भेला बोलाएको छ ।

शनिबार गरिएको बैठक निष्कर्षविहीन भएपछि देउवाले आज पुनः छलफल डाकेका हुन् । महाराजगञ्जस्थित आफ्नै निवासमा दिउँसो १ बजेबाट सुरु हुने बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरू विमलेन्द्र निधि, कृष्ण सिटौला, शेखर कोइराला र रमेश लेखक सहभागी हुने जनाइएको छ । नियमित वा विशेष महाधिवेशन गर्ने कि नगर्ने भन्ने विवाद आजै टुंग्याउने सभापति देउवा पक्षको तयारी रहेको पदाधिकारीहरूले बताएका छन् ।

यसैबीच, पार्टीभित्र नियमित महाधिवेशनको पक्षमा उभिएको समूहले भने आज दिउँसो २ बजे मध्यवानेश्वरको सनराइज क्याफे एन्ड ब्याकेटमा छुट्टै भेला राखेको छ । करिब ७० जना बढी केन्द्रीय सदस्यको उपस्थिति रहने अपेक्षा गरिएको यो भेला समूहलाई एकताबद्ध राख्ने र आगामी रणनीति तय गर्ने उद्देश्यले बोलाइएको हो ।

खाँण नेतृत्वको समूह विशेष महाधिवेशन गर्नु नपर्ने अडानमा छ । उनीहरू १५औं महाधिवेशन चुनावअघि विशेष महाधिवेशनको आवश्यकता नरहेको र आगामी वैशाखमै नियमित महाधिवेशन गर्नुपर्छ भन्ने धारणा अघि सार्दै आएका छन् । पार्टीभित्र दुवै धार तीव्र रूपमा अगाडि बढिरहेका बेला देउवा निवासमा बस्ने छलफल र खाँण पक्षको भेला—दुवैको परिणामले कांग्रेसको आगामी राजनीतिक मार्गचित्र निकै हदसम्म निर्धारण गर्ने देखिएको छ ।

नेकपाको आज पोखरामा एकता सन्देश सभा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज (आइतबार) गण्डकी प्रदेशलाई लक्षित गरेर कास्कीको पोखरामा एकता सन्देश सभा गर्दैछ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताले सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

नेकपाले भोलि (सोमबार) कोशीको विराटनगरमा, मंसिर १८ गते, कर्णालीको सुर्खेतमा, २० गते मधेशको जनकपुरमा र २३ गते बागमतीको हेटौँडामा सभा गर्ने तालिका सार्वजनिक गरेको छ । मंसिर २९ गते देशभरका पालिकामा एकता सन्देश सभाको तयारी नेकपाको छ ।

यसअघि नेकपाले शनिबार लुम्बिनी प्रदेशको दाङ देउखुरीमा र शुक्रबार सुदूरपश्चिमको धनगढीमा एकता सन्देश सभा गरेर प्रदेशस्तरमा पार्टीको सन्देश प्रवाह गरेको छ । नेकपाका नेताहरुले जेनजी आन्दोलनले १५ बाम घटक दललाई एकत्रित गराउन बल दिएको बताउँदै आउँदा दिनमा आफूहरु सच्चिन तयार रहेकाले आत्मालोचनाका लागि जनता समक्ष आइरहेको बताइरहेका छन् ।

च्याम्पियन जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’ मा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पाँचौं जित दर्ता गरेको छ । शनिबार भएको खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमले प्रतियोगितामा लगातार पाँचौं जित दर्ता गरेको हो ।

योसँगै एनपीएलमा लगातार पाचौँ जित दर्ता गरेको सुदूरपश्चिम अपराजित रहँदै प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ । पाँच खेलबाट १० अंक बनाएको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा छ । सुदूरपश्चिमले लिग चरणमा चितवन, विराटनगरसँग खेल्न बाँकी छ ।

लगातार चौथो खेलमा हार भोगेसँगै साविक विजेता जनकपुर बोल्ट्सको प्लेअफमा पुग्ने सम्भावना कठिन भएको छ । जनकपुरले अब चितवन राइनोज, लुम्बिनी लायन्स र कर्णाली याक्ससँग खेल्न बाँकी छ ।

रवि अपराधी होइनन्, चुनावी अभियानमा सहभागी हुने अधिकार पाउनु पर्छ : नेता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले रवि लामिछानेले चुनावी अभियानमा सहभागी हुने कानुनी अधिकार राख्नु पर्ने बताएका छन् । नेता शर्माले भने, ‘रवि अपराधी होइनन्, त्यसैले उहाँले स्वतन्त्र रूपमा आफ्नो विचार राख्ने र चुनावी अभियानमा भाग लिन पाउनु पर्छ ।’

शर्माले भारतको सर्वोच्च अदालतले अरविन्द केजरीवाललाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोपमा छोटो अवधिको जमानत दिँदा दिएको सन्देश उदाहरण स्वरूप प्रस्तुत गर्दै भने, ‘चुनाव जनहितको विषय हो । कुनै व्यक्ति दोषी प्रमाणित नहुँदासम्म राजनीतिक प्रक्रियामा सहभागी हुनबाट रोक्नु हुँदैन । अदालतले स्पष्ट रूपमा भनेको छ कि अपराध प्रमाणित नभएसम्म राजनीतिक सहभागिताबाट रोक्नु समाजका लागि खतरा होइन ।’

उनले थपे, ‘यही न्यायिक सिद्धान्तको आधारमा, रवि लामिछाने आफू उम्मेदवार बन्न कानुनी रूपमा रोकिएका भए पनि, चुनावी अभियानमा सहभागिता जनाउने अधिकार उनीसँग रहनु पर्छ । उनी अहिले सहकारी ठगी प्रकरणमा अभियुक्त मात्र हुन् र कुनै अपराधमा दोषी ठहर भइसकेका छैनन् ।’

डा. शर्मा अनुसार लोकतान्त्रिक मुलुकमा कुनै पनि शीर्ष राजनीतिक व्यक्तित्वलाई पूर्ण रूपमा चुनावी प्रक्रियाबाट अलग राख्नु प्रत्यक्ष रूपमा प्रतिस्पर्धाको निष्पक्षता कमजोर पार्ने अभ्यास हो । यो केवल कुनै व्यक्ति वा पार्टीको पक्षमा मात्र नभई नेपालको समग्र लोकतान्त्रिक मूल्य र राजनीतिक निष्पक्षताको संरक्षणको पक्षमा रहेको विषय हो ।

नेता शर्माले निष्कर्षमा भने, ‘हामीले प्रतिस्पर्धालाई दबाएर होइन, खुलेर सामना गरेर बलियो लोकतन्त्र निर्माण गर्नुपर्छ । यस्ता न्यायिक र राजनीतिक नजिरहरूले हाम्रो लोकतान्त्रिक चरित्र सुदृढ बनाउँछन् र न्यायिक प्रक्रियाको विश्वसनीयता पनि कायम राख्छन् ।’ नेता शर्माले केहि दिनअघि पूर्व गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेलाई ललितपुरको नख्खु कारागारमै पुगेर भेटेका थिए ।

भेटपछि उनले अघिल्लो सरकारले लामिछानेमाथि प्रतिशोध साँधेको बताएका थिए । उनले अघिल्लो सरकारको पालामा एउटै प्रकृतिको मुद्दामा अरुलाई छुट दिइएको बताउँदै लामिछानेमाथि भने भिन्नै व्यवहार गरिएको टिप्पणी गरेका थिए । उनले जेनजीको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले रविको मुद्दामा चासो देखाउनु पर्ने बताउँदै उनी भाग्छन् भन्ने लागे आफू कागजमा औठाछाप लगाएर जिम्मा लिन तयार रहेको बताएका थिए ।

 

पहिचान सम्मान काइँला र पहिचान युवा सम्मान राईलाई

काठमाडौँ । पहिचान पुरस्कार कोषले यस वर्षको पहिचान सम्मान वरिष्ठ साहित्यकार वैरागी काइँला (तिलविक्रम नेम्वाङ सुब्बा) लाई प्रदान गरिने भएको छ ।

रु पाँच लाख दुई हजार दुई राशीका सम्मान वरिष्ठ साहित्यकार-मुन्धुमविद् एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति काइँलालाई प्रदान गर्ने निर्णय भएको कोषका संस्थापक नरेश काङमाङ राईद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

यस्तै, रु ५० हजार दुई सय दुई राशीको पहिचान युवा सम्मान गणेशकुमार राई (गीलु रातोस) लाई दिइने भएको छ ।

पहिचान आन्दोलन र लेखनमा उनीहरूले दिएको योगदानलाई कदर गर्दै उक्त सम्मान र पुरस्कार दिइने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।

श्रीलङ्काकामा मौसमी प्रकोपका कारण सार्वजनिक आपतकाल घोषणा

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकले हालको खराब मौसमी प्रकोपको सामना गरिरहेको अवस्थामा सार्वजनिक आपतकालको घोषणा गरेका छन् ।

घोषणाले सार्वजनिक सुरक्षा अध्यादेश अन्तर्गत आपतकालीन नियमहरू राष्ट्रव्यापी लागू गर्न सरकारलाई अधिकार प्रदान गर्दछ । आपतकाल घोषणा गर्नुको उद्देश्य सार्वजनिक सुरक्षाको रक्षा गर्नु, राष्ट्रिय स्थिरता कायम राख्नु रहेको जनाइएको छ ।

यसैबीच श्रीलङ्काली प्रहरीले प्रहरी महानिरीक्षक (आइजीपी) को प्रत्यक्ष पर्यवेक्षणमा प्रहरी मुख्यालयमा विशेष अपरेसन युनिट स्थापना गरेको बताएको छ । युनिटले सार्वजनिक सहायताका लागि समर्पित ल्यान्डलाइन र ह्वाट्सएप हटलाइनहरू खोलेको जनाएको छ ।

राष्ट्रव्यापी प्रहरी अधिकारीहरूलाई उनीहरूको डिभिजन भित्र मौसम–सम्बन्धित आपतकालिन व्यवस्थापन गर्न द्रुत–प्रतिक्रिया टोलीहरूमा नियुक्त गरिएको छ । डुङ्गा, ड्राइभिङ उपकरण र अन्य उद्धार उपकरणहरू तत्काल तैनातीका लागि तयार छन् । विपद् व्यवस्थापन केन्द्र, सशस्त्र बल र अन्य एजेन्सीहरूलाई संयुक्त आपतकालीन अपरेसनमा एकीकृत गरिएको प्रहरीले जनाएको छ ।

विस्थापित परिवारका घर र सम्पत्तिहरूको सुरक्षाका लागि थप सुरक्षा उपायहरू लागु गरिएको अधिकारीहरूले बताएका छन् । अस्थायी आश्रयमा बसोबास गर्ने मानिसहरूको सुरक्षा सुनिश्चित गर्न प्रहरीलाई निर्देशन दिइएको छ ।

यसैबीच, अध्यागमन तथा आप्रवासन विभागले उडान रद्द र मौसम सम्बन्धी यात्रामा अवरोधका कारण फसेका विदेशी नागरिकहरूका लागि विशेष भिसा सुविधा उपायहरू सुरु गरेको छ । नोभेम्बर– २८ पछि प्रस्थान गर्न असमर्थ यात्रुहरूलाई भिसा विस्तार शुल्क र पेनाल्टी छुट दिइनेछ । पर्यटक, व्यापार र निवास भिसा भएकाहरुलाई समय थप गर्न सात दिनको अवधि प्रदान गरिएको छ ।

विभागले अल्पकालीन रुपमा भिसा अवधि अनलाइन बाटै थप गर्न सकिने र थप अद्यावधिकहरू जारी गरिने बताएको छ ।

 

बाबुराम अभिभावक रहेको प्रलोपाले देशभर भ्रष्टाचारविरोधी अभियान चलाउने

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई अभिभावक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले देशैभरि भ्रष्टाचार विरोधी अभियान चलाउने भएको छ । शुक्रबार काठमाडौंमा बसेको विस्तारित बैठकले भ्रष्टाचार विरोधी अभियान देशैभरि चलाउने गरी कार्यदल बनाउने निर्णय भएको नेता सुदन किराँतीले जानकारी दिएका छन् ।

प्रलोपाले त्यसका लागि जिएस गुरूङको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा जटिल कार्की, अमित खनाल (ऊर्जा), सम्झना राई, ध्रुव प्रसाद काप्री, मञ्जु मिक्चान र दीपक महतो सदस्य छन् । बैठकले प्रलोपासँग बृहत एकता, ध्रुविकरण र सहकार्यका लागि सबै प्रगतिशील, लोकतान्त्रिक र देशप्रेमीहरूलाई आह्वान पनि गरेको छ ।

त्यसका लागि वार्ता र संवाद गर्न पार्टी सँधै खुला रहेको पनि प्रलोपाले जनाएको छ । साथै तोकिएकै समयमा निर्वाचन गराउनका लागि वातावरण बनाउन सबै पक्षहरूलाई प्रलोपाले आह्वान गरेको छ । प्रलोपाले सरकारलाई चार वटा विषयमा ध्यानाकर्षण गराएको छ । उसले जेनजी आन्दोलनको म्याण्डेट यथाशीघ्र पूरा गरी भ्रष्टाचारीलाई छानबिन गरी कारबाही गर्न माग गरेको छ ।

त्यस्तै भदौ २३ र २४ गते सरकारी पक्षबाट भएको नरसंहारको छानबिन गर्न गठित आयोगले तीव्र गतिका काम अगाडी बढाउन र दोषीलाई कारबाही सिफारिस गर्न प्रलोपाले माग गरेको छ । आगामी निर्वाचनमा विदेशमा रहेका प्रवासी नेपालीको मतदान अधिकार सुनिश्चित गर्न पनि प्रलोपाले माग गरेको छ । साथै नेपालभित्रै अन्य जिल्लामा रही आफ्नो मतदान केन्द्रमा पुगी मत प्रदान गर्न नसक्ने मतदाताका लागि आफू रहेकै स्थानबाट मत प्रदान गर्न मिल्ने व्यवस्था गर्न पनि प्रलोपाले माग गरेको छ ।

जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सका सञ्जय कृष्णमूर्तिको अर्धशतकमा सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य प्राप्त भएको छ ।

शनिबार (मंसिर १३) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४५ रन बनाएको हो ।

जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले अर्थशतक प्रहार गरे । उनले ३८ बलमा २ चौका र २ छक्का प्रहार गरे । जोन निकोल लोफ्टी इन्र्टन ३९, माज सदक्वात १२, आसिफ शेख ०, मयन यादव ६, आदित्य मेहता १५, शुभ कंशाकार ० र वायन पार्नेल १४ रनमा आउट भए । रुपेश सिंह १ रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका अभिनास बोहराले सर्वाधिक ४ विकेट लिए । स्कट कुइगेलेइन ३ र कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

बुद्ध एयरको जहाज चरासँग ठोक्कियाे

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ । पोखरा विमानस्थलमा अवतरणका क्रममा जहाजसँग चरा ठोक्किएको हो ।

फ्लाइट नम्बर ६१७ रहेकाे बुद्ध एयरकाे 9N-AOC जहाजमा सवार यात्रु र चालक दल सुरक्षित रहेका बुद्ध एयरले जनाएकाे छ । जहाजलाई पोखरास्थित प्राविधिक टिमले चेकजाँच गरिरहेको छ ।

‘एक फिरन्तेको चट्याङे जीवन’ सार्वजनिक

काठमाडौ । पर्यटन व्यवसायी श्याममोहन श्रेष्ठको आत्मकथा ‘एक फिरन्तेको चट्याङे जीवन’ र यसको अङ्ग्रे्रेजी संस्करण ‘एन ओभल्र्याण्ड ओडेसी’ सार्वजनिक भएका छन् ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, अर्का पर्यटन व्यवसायी कर्ण शाक्य, लेखक श्रेष्ठलगायतले आज यहाँ आयोजित समारोहमा इण्डिगो इन्कद्वारा प्रकाशित ती पुस्तक विमोचन गरेका हुन् ।

पुस्तकमा लेखक श्रेष्ठले क्यासिनोको आकर्षक जागिर छाडेर फ्रान्स हिँडेको, सात महिनाको कठिन यात्रा, बेलायत पुग्ने बित्तिकै विमानस्थलबाट फर्कनुपरेको, स्वदेश फर्केपछि बेरोजगारी र सङ्घर्षका अध्याय, दिल्लीमा पुगेपछि एयर फ्रान्समा जागिर पाउन गरेको प्रयासदेखि धुलिखेलमा होटल व्यवसाय सुरु गर्दा माओवादी द्वन्द्वबाट उत्पन्न असहज परिस्थिति झेलेका प्रसङ्ग समेटिएका छन् ।

अल्लारे वयका लेखकका साहसिक र रोमाञ्चक यात्रा विवरणले पाठकलाई लेखकसँगै घुमाउँछन् ।

१५ पार्टी एकढिक्का भएर आत्मालोचना गर्न आएका छौं : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधव नेपालसँगको सहकार्य हठात नभएको भन्दै यसको इतिहास झण्डै ४० वर्ष पुरानो रहेको बताएका छन् । उनले माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दर्जनौं वाम घटकबीचको हालको एकतालाई केवल चुनाव जित्नको लागि नभई लामो समयदेखि चलेको सहकार्य र संवादको परिणाम भएको बताए ।

प्रचण्डले दाङको देउखुरीमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै भने, ‘२०४१-०४२ सालतिर कमरेड माधवकुमार नेपाल र म लगायत धेरै पञ्चायतविरोधी आन्दोलनमा संवाद र सहकार्य गर्दै आएका थियौं । ०४२ देखि ०४६ सालसम्म र जनयुद्धको क्रममा पनि लगातार संवादमा रह्यौं । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको प्रक्रियामा पनि हामीले सहकार्य गर्‍यौं । आजको एकता हठात भएको होइन, झण्डै ४०–४१ वर्षको सहकार्य, संवाद र आन्दोलनको परिणाम हो ।’

प्रचण्डले हालैको जेनजी आन्दोलनले पार्टीभित्र आत्मसमीक्षा गर्नुपर्ने अवस्था सिर्जना गरेको बताएका छन् । उनले युवापुस्ताको भावना र जनताको चाहनाअनुसार आफूहरूलाई सच्याउनु पर्ने आवश्यकतालाई औँल्याउँदै भने, ‘हामीले समीक्षा गरेरै एकताबद्ध बनेका हौं । यो सन्देशसभा आफ्नो कमी कमजोरी खोतल्ने र त्यसलाई सच्याउने प्रतिबद्धता व्यक्त गर्ने अवसर हो । हामी १५ वटा पार्टी एकताबद्ध भएर नेपाली कम्युनिष्ट पार्टी बनेका हौं ।’

प्रचण्डले हजारौं जेनजी युवाहरूले नेकपालाई अभिभावक मानेर पार्टीभित्र भित्रिरहेको उल्लेख गर्दै आफूहरू बदलिएर जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले देश कमजोर बनेको अवस्था र विगतका गल्ती–कमजोरीहरूको समीक्षा गर्न आवश्यक रहेको बताए ।

इन्डोनेसियामा बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १६४ पुग्यो

जकार्ता । इन्डोनेसियाको सुमात्रा टापुमा मङ्गलबार भएको मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १६४ पुग्नुका साथै ७९ जना बेपत्ता मानिसहरूको खोजी जारी रहेको जनाइएको छ ।

बाढीले सडकमा क्षति पुगेको उल्लेख गर्दै आवाश्क उपकरणको अभावका कारण उद्धारकर्मीहरूले कठिनाइको सामना गरिरहेको इन्डोनेसियाका अधिकारीहरूले विज्ञप्ति मार्फत जनाएका छन् ।

इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बिएनपिबी) ले सुरुमा १७४ जनाको मृत्यु भएको रिपोर्ट गरेकोमा हाल मृतकको सङ्ख्या १६४ मा संशोधन गरेको छ ।

एजेन्सीका प्रमुख सुहारियान्तोले पत्रकार सम्मेलनमा उत्तरी सुमात्रा प्रान्तमा मृतकको सङ्ख्या ११६ पुगेको र उद्धारकर्ताहरूले टापुको पश्चिममा २३ जनाको शव बरामद गरेको जानकारी दिएका छन् । उनले उद्धार टोलीहरूले उत्तरी सुमात्राका १२ सहर र जिल्लाहरूमा प्रभावित क्षेत्रहरूमा पुग्न कठिनाइको सामना गरिरहेको पुष्टि गर्दै बाढीले १७ हजार भन्दा बढी घरहरू डुबानमा पर्दा लगभग २३ हजार मानिसहरु विस्थापित भएको जनाउनु भएको छ ।

उष्णकटिबन्धीय चक्रवात सिनियार्टले बढाएको मनसुनी वर्षाले मङ्गलबार उत्तरी सुमात्राका नदीहरूले खतराको सतह नागेका थिए भने बाढीले धेरै पाहाडी गाउँहरू बगाएको छ । बाढीका कारण तीन हजार २०० भन्दा बढी सरकारी घर तथा भवनहरू डुबानमा परे पछि लगभग उक्त स्थानमा आश्रय लिइरहेका तीन हजार परिवारसमेत विस्थापित भएको जनाइएको छ ।

बाढीले धान बाली , गाईवस्तु र सार्वजनिक सुविधाहरू पनि नष्ट गरे पछि मानिसहरुको दिन चर्या नै तहस नहस बनाएको जनाइएको छ ।

चीनमा भवन आगलागी रोकथामका लागि नयाँ पहल

बेइजिङ । चीनले भवनमा आगलागी जोखिम कम गर्न व्यापक अभियान सुरु गरेको छ । यो कदम हङकङमा भएको एक भयानक आगलागीमा कम्तीमा १२८ जनाको मृत्यु भएपछि उठाइएको हो, जुन दशकौँमा वित्तीय केन्द्रमा भएको सबैभन्दा ठूलो दुर्घटना मानिन्छ ।

राज्य सञ्चार माध्यम सीसीटीभीका अनुसार चीनको राज्य परिषद् सुरक्षा समितिले हालै भवनमा मुख्य आगलागी जोखिम पहिचान गरी सुधार गर्ने अभियान सुरु गरेको जानकारी दिएको छ ।

अभियानअन्तर्गत भवनहरूमा सजिलै जल्ने सामग्रीको प्रयोग जाँच गरिनेछ ।

सीसीटीभीले भनेको छ, “सबै क्षेत्रमा जिम्मेवारीको भावना बलियो बनाउनु पर्नेछ । विकास र सुरक्षा सँगसँगै समन्वय गर्नुपर्छ र भवनमा मुख्य आगलागी जोखिमको अनुसन्धान तथा सुधारलाई अत्यन्त महत्वपूर्ण कार्यका रूपमा लिनुपर्छ । निगरानी र निरीक्षणलाई तीव्र बनाउँदै सुनिश्चित परिणाम ल्याउनुपर्छ ।”

चीनले भवनमा आगलागी जोखिम कम गर्न व्यापक अभियान सुरु गरेको छ । यो कदम हङकङमा भएको एक भयानक आगलागीमा कम्तीमा १२८ जनाको मृत्यु भएपछि उठाइएको हो, जुन दशकौँमा वित्तीय केन्द्रमा भएको सबैभन्दा ठूलो दुर्घटना मानिन्छ ।

राज्य सञ्चार माध्यम सीसीटीभीका अनुसार चीनको राज्य परिषद् सुरक्षा समितिले हालै भवनमा मुख्य आगलागी जोखिम पहिचान गरी सुधार गर्ने अभियान सुरु गरेको जानकारी दिएको छ ।

अभियानअन्तर्गत भवनहरूमा सजिलै जल्ने सामग्रीको प्रयोग जाँच गरिनेछ ।

सीसीटीभीले भनेको छ, “सबै क्षेत्रमा जिम्मेवारीको भावना बलियो बनाउनु पर्नेछ । विकास र सुरक्षा सँगसँगै समन्वय गर्नुपर्छ र भवनमा मुख्य आगलागी जोखिमको अनुसन्धान तथा सुधारलाई अत्यन्त महत्वपूर्ण कार्यका रूपमा लिनुपर्छ । निगरानी र निरीक्षणलाई तीव्र बनाउँदै सुनिश्चित परिणाम ल्याउनुपर्छ ।”

रास्वपा र उज्यालो नेपाल पार्टीबीचको वार्ता किन पुग्न सकेन निष्कर्षमा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच पार्टी एकता र सहकार्यका लागि चलिरहेको संवाद अझै निष्कर्षमा पुगेको छैन । उज्यालो नेपाल पार्टीका प्रवक्ता डा. राजु थापाका अनुसार, दुई पक्षबीच चुनाव चिह्न, पार्टी नाम र नेतृत्व व्यवस्थापनसम्बन्धी विषयमा छलफल भए पनि रास्वपाबाट पटक–पटक नयाँ शर्तहरू राखिँदा सहकार्य सुनिश्चित हुन सकेको छैन ।

डा. थापाका अनुसार, उज्यालो नेपाल पार्टी रास्वपाको चुनाव चिह्न ‘घण्टी’ स्वीकार गर्न तयार छ । एकता प्रक्रियामा पार्टीको नाम मिलाएर अघि बढ्ने, रास्वपाकै चुनाव चिह्न राख्ने र केन्द्रीय समिति समायोजन गर्ने विषयमा वार्ता भइरहेको छ । नेतृत्व व्यवस्थापनको पक्षमा उज्यालो नेपालले कार्यकारी भूमिकासहितको वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्नुपर्ने प्रस्ताव पनि अघि सारेको छ ।

उनले भने, ‘हामीले सहकार्यका लागि लामो समयदेखि रास्वपासँग संवाद गरिरहेका छौं । पार्टी दर्ता ढिला हुनुको एउटा प्रमुख कारण पनि यही अनौपचारिक संवाद हो । दर्ता भइसकेपछि पनि संवाद निरन्तरता दिँदै सहकार्यको प्रयास गर्दैछौं ।’ यसैबीच, उज्यालो नेपाल पार्टी मंसिर १७ गते औपचारिक रूपमा घोषणा हुने भएको छ । कार्यक्रमका प्रमुख अतिथि कुलमान घिसिङ हुनेछन् ।

प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यवस्था नेपालका निम्ति घातक हुन्छ : ज्ञवाली

काठमाडौँ । पूर्व जलस्रोतमन्त्री दीपक ज्ञवालीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था नेपालका लागि घातक हुने बताएका छन् । आज (शनिवार) जेन–जी एलाईन्स फर मोनार्कीले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो शासन व्यवस्था आए मुलुक नरहनसक्ने अवस्था आउने चेतावनी समेत दिए ।

जलस्रोतविद् समेत रहेका ज्ञवालीले सो शासन व्यवस्था ल्याउने प्रस्ताव राख्नेहरूले मुलुकलाई निरंकुशतामा धकेल्ने प्रयास गरिरहेको जिकिर गरे । उनले सो शासन व्यवस्थाको बहसमा खरो ढंगले उत्रन आवश्यक रहेको पनि औँल्याए ।

पूर्व मन्त्री ज्ञवालीले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी । त्यो जतिको खतरनाक नेपालमा केही पनि हुँदैन । त्यो लेण्डुपदोर्जे र जेलेन्सकी जन्माउने प्रपञ्च हो । अप्रत्यक्ष हुँदा त देखिहाल्नु भयो– कस्ता कस्ता रहेछन् यहाँ ओली र देउवा । अव प्रत्यक्ष भएको भएदेखि त के गर्थे होलान् । यिनी त जेलेन्सकी र लेण्डुपदोर्जे हुन्थे होला । यिनीहरूले भारतमा लगेर मिसाइ दिउन् भने कसैले बोल्ने ठाउँ नै हुने थिएन । चाहिएको के हो भने यहाँ शक्ति पृथकीकरण र चेक एण्ड ब्यालेन्सलाई कसरी बलियो बनाउने हो । नेपालमा स्थिर सरकार आउनका लागि अरू नै उपायहरू छन् । यसले स्थिर सरकार ल्याउँदैन, निरंकुशता जन्माउँछ । यो बहसमा हामी अघि बढी नै ओर्लनुपर्ने हुन्छ । नत्र देशनै हिँड्ने स्थिति आउन सक्छ ।’ त्यस अवसरमा पूर्वमन्त्री ज्ञवालीले केपी ओली र शेरबहादुर देउवाहरूले नै मुलुकलाई कमजोर बनाएको आरोप समेत लगाए ।

हित प्रवर्द्धन गर्न राष्ट्रिय स्वतन्त्र नागरिक समाज गठन

काठमाडौँ । राष्ट्रिय हित प्रवर्द्धनमा आफूलाई केन्द्रित गर्ने उद्देश्यले सामाजिक अभियन्ता फणीन्द्र नेपालको अध्यक्षतामा ‘राष्ट्रिय स्वतन्त्र नागरिक समाज नेपाल’ गठन भएको छ ।

आज यहाँ पत्रकार सम्मेलन गरेर यो जानकारी दिइएको हो । नवगठित समाजको उपाध्यक्षमा रणबहादुर चन्द, महासचिवमा परवीर नेपाल, कोषाध्यक्षमा सञ्जय झा र सचिवमा उजीर किराती रहेका छन् ।

त्यस अवसरमा अध्यक्ष नेपालले देशलाई भ्रष्टाचारबाट मुक्त गर्न जेनजी पुस्ताले उठाएका विषय कार्यान्वयनमा समाजले सहकार्य गर्ने बताएका छन् ।

हुम्लामा निःशुल्क आँखा शिविर

अदानचुली। हुम्लाको अदानचुली गाउँपालिकाको श्रीनगर स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क आँखा शिविरमा ५२० जनाले उपचार गराएका छन् ।

बिहीबारबाट सुरु भएको निःशुल्क आँखा शिविर तथा मोतीबिन्दु शल्यक्रिया शिविरमा ४० जनाको मोतीबिन्दु र एक जनाको टेरिजियमको निःशुल्क शल्यक्रिया गरिएको अदानचुली गाउँपालिका स्वास्थ्य शाखा संयोजक विनोद बुढाले बताए।

नेपाल नेत्रज्योति सङ्घ हुम्ला शाखा, नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित हिमालय आँखा अस्पताल पोखराको आर्थिक एवं प्राविधिक सहयोगमा तथा अदानचुली गाउँपालिकाको समन्वयमा सञ्चालित तीनदिने शिविरमा निःशुल्क आँखा परीक्षण, औषधि वितरण, मोतीबिन्दु शल्यक्रिया र चश्मा वितरण गरिएको छ ।

अदानचुली गाउँपालिकालगायत छिमेकी गाउँपालिकाका मुगुको सोरु, हुम्लाको ताँजाकोट र सर्केगाड गाउँपालिकाका बिरामीलाई लक्षित गर्दै आयोजना गरिएको सो शिविरमा हिमालय आँखा अस्पताल पोखरामा सेवारत नेत्ररोग विशेषज्ञ डा अनिल पराजुलीको नेतृत्वको स्वास्थ्य टोलीले सेवा प्रदान गरेको हो ।

नेत्ररोग विशेषज्ञ डा पराजुलीले मोतीबिन्दु रोग पत्ता लागेका सबै सेवाग्राहीको निःशुल्क शल्यक्रिया गरिएको बताए । शिविरमा बालबालिका, ज्येष्ठ नागरिक तथा आँखाका समस्या भएका सेवाग्राही लाभान्वित भएका छन् । न्यूनदृष्टि भएका बालबालिका तथा फरक क्षमता भएका सेवाग्राहीका लागि आवश्यकताअनुसार थप उपचार तथा चस्मा वितरण गरिएको बताए।

शिविर सञ्चालन गर्न नेपाल रेडक्रस सोसाइटी शाखा र जिल्ला आँखा उपचार केन्द्रले समन्वय रहेको थियो ।

ताप्लेजुङमा एमाले प्रतिनिधि सर्वसम्मत

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गते काठमाडौँमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि यहाँबाट १२ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।

निर्वाचन अधिकृत राजकुमार चुडालका अनुसार खुलातर्फ दिपेन पोमु, घनेन्द्र मादेन, अनन्त साँवा, कैलाश राई, ज्ञानु लावती र छत्रपति प्याकुरेल सर्वसम्मत चयन भएका छन् । महिलातर्फ रनमाया गुरुङ, मीना केदेम, प्रमिला खनाल र टीका सुवेदी चयन भएका छन् ।  युवातर्फ गोपाल न्यौपाने र दलिततर्फ बुद्धिमान परियार चयन भएका छन्  ।

एनपिएलः सुदूरपश्चिमविरूद्ध जनकपुर पहिले ब्याटिङ गर्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको दोस्रो खेल जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

तीन खेल खेलेर अङ्कविहीन अवस्थामा रहेको जनकपुर आज जीतको खोजीमा छ । जनकपुर अङ्कतालिकाको पुछारमा छ ।

प्रतियोगितामा अपराजित रहेको सुदूरपश्चिम भने चारवटै खेल जितेर अङ्क तालिकाको पहिलो स्थानमा छ । सुदूरपश्चिम आज विजयी भयो प्लेअफमा उसको स्थान सुरक्षित हुनेछ ।

आजै भएको पहिलो खेलमा लुम्बिनीले पोखरालाई तीन विकेटले पराजित गरेको थियो ।

प्रधानमन्त्री र रास्वपाका नेताबीच छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूबीच छलफल चलिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताहरुबीच छलफल जारी छ ।

छलफलमा रास्वपाका नेताहरू कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, शिशिर खनाल र सोविता गौतम सहभागी छन् । छलफलमा निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको नेताहरूले जनाएका छन् ।

छलफल लगत्तै ५ बजे राप्रपाका नेताहरूलाई प्रधानमन्त्रीले बालुवाटार बोलाएकी छन् । प्रधानमन्त्री कार्कीले पछिल्लो समय राजनीतिक दलहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेकी छन् ।

पाटन दरबार क्षेत्र सवारीसाधनमुक्त (तस्बिरहरू)

ललितपुर । ललितपुर महानगरपालिकाले विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रलाई सवारीसाधनमुक्त बनाउने कार्यक्रम सुरु गरेको छ ।

“पाटन पाइला पाइलैमा” नाम दिइएको यो कार्यक्रम पहिलो चरणमा ममदु गल्ली, गौरीशंकर मन्दिरदेखि ओल्खु गणेश मन्दिरसम्म, भीमसेनस्थान मन्दिरदेखि स्वठ नारायणमन्दिरसम्‍म र स्वठ चोकदेखि क्यालखु चोक भेहिकल फ्री जोन गरिएको छ ।

यी क्षेत्रमा मंसिर १३, १७ र २० गते दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म प्रवेश निषेध गरिएको छ । यी क्षेत्रमा मंसिर २४ र २७ गते पनि बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सवारी साधन निषेध गरिएको छ ।

यस्तै, दोस्रो चरणमा तिछुगल्ली, मंगलबजार चोकदेखि चक्रबहिल चोकसम्म दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म निषेध गरिएको छ ।

सोही क्षेत्रमा पुस १६ र १९ गते बिहान ८ बजेदेखि ७ बजेसम्म सवारी साधन निषेध गरिएको छ ।

रूसको निरन्तर आक्रमणले किएभमा सङ्कट गहिरिँदै

किएभ । रूसले शनिबार बिहान युक्रेनको राजधानी किएभमा गरेको हवाई आक्रमणमा सात जना घाइते भएका छन् ।

मध्यरातपछि शहरभर ठूलो विस्फोटको आवाज सुनिएपछि हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको थियो । किएभको सैनिक प्रशासनका प्रमुख तिमुर तकाचेन्कोले भने,“विपक्षीका उड्ने यन्त्रहरू राजधानी वरपर देखिएका छन् र हवाई प्रतिरक्षा दलले तिनको विरुद्ध सक्रिय रूपमा प्रतिक्रिया जनाइरहेका छन् ।”

किएभका मेयर विताली क्लिच्कोले आक्रमणका क्रममा सबै नागरिकलाई सुरक्षित स्थानमै बस्न अनुरोध गरेका थिए । उनका अनुसार राजधानीमा सात जना घाइते भएका छन्, जसमा चार जनालाई उपचारका लागि अस्पताल लगिएको छ । घाइतेमध्ये १३ वर्षे एक बालक पनि रहेको उनले जानकारी दिएका छन् ।

आक्रमणका कारण शहरका केही आवासीय क्षेत्रमा रहेका घर र सवारीसाधनमा क्षति पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
यही साताभर रातको समयमा भएका यस्तै प्रहारका कारण किएभका विभिन्न बस्ती क्षेत्रमा आगलागी भएको थियो । ती घटनामा सात जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।

विराटनगरमा एमाले प्रतिनिधि छनोटमा विवाद र हात हालाहाल

विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विराटनगरमा विवाद हुँदा केही समय मतदान रोक्नुपर्ने अवस्था सिर्जना भएको छ ।

शनिबार पार्टी कार्यालय पाञ्चालीमा भएको मतदानमा संस्थापन पक्षका नेता पर्शुराम बस्नेतमाथि इतर समूहका कार्यकर्ताले हातपात गरेको घटना प्रहरीद्वारा पुष्टि भएको छ । विवाद मुख्यतः वडा नम्बर १२ का वडाध्यक्ष भानुभक्त पाठकले एक व्यक्तिलाई मतदानका लागि लैजाने क्रममा सुरु भएको थियो । संस्थापन पक्षले पटक–पटक एउटै व्यक्तिलाई मतदानमा लैजानु ठीक नभएको भन्दै आपत्ति जनाएका थिए ।

यसैबीच मोरङ क्षेत्र नम्बर ६ मा पनि प्रतिनिधि चयन प्रक्रियामा धक्कामुक्की र विवाद भएको छ । संस्थापन पक्ष र अन्य समूहबीच प्यानल भिडन्त हुँदा सर्वसम्मत प्रतिनिधि छनोट हुन सकेन । डबल मत हालिएको आरोपपछि मतदान केही समयका लागि स्थगित पनि भएको थियो ।

एमाले मोरङका जिल्ला स्रोतले विवादका क्रममा विनोद ढकाल समूहका कार्यकर्ताले बस्नेतमाथि हातपात गरेको जनाएको छ । मतदान पुनः सुरु भए पनि प्रतिनिधि छनोट प्रक्रिया तनावपूर्ण अवस्थामा रहेको बताइएको छ ।

पाकिस्तानको उत्तरपश्चिममा जीप दुर्घटनामा पाँच जनाको मृत्यु, पाँच घाइते

इस्लामाबाद  ।   पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा जीप दुर्घटनामा परेको छ, जसमा कम्तीमा पाँच जनाको मृत्यु भएको र पाँच जना घाइते भएका छन् ।
घटना एबटाबाद जिल्लाको हेभेलियन क्षेत्रमा भएको हो । उद्धार टोलीका अनुसार, ११ जना यात्रु बोकेको गाडी खाल्डोमा खसेको थियो । गाडीमा केही विद्यालयका विद्यार्थीहरू समेत रहेका थिए ।

उद्धार टोलीका अनुसार, स्थलमै तीन जनाको मृत्यु भएको थियो भने सात जनालाई अस्पतालमा पु¥याइएको थियो, जसमा दुई जनाको उपचारकै क्रममा मृत्यु भएको थियो । घाइतेमध्ये दुई जनालाई गम्भीर अवस्थामा रहेकाले आयुब स्वास्थ्य केन्द्रमा सारिएको छ ।

पाकिस्तानमा खराब सडक अवस्था र यातायात नियमको अवहेलनाका कारण सडक दुर्घटना हुने जोखिम बढी रहेको बताइएको छ ।

वाम शक्तिहरुलाई एकतामा आउन नेकपाको आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले वाम, समाजवादी, लोकतान्त्रिक तथा देशभक्त शक्तिहरूलाई व्यापक एकता र सहकार्यको ढाँचामा सहभागी हुन औपचारिक आह्वान गरेको छ ।

सात दशकभन्दा लामो कम्युनिष्ट आन्दोलनको उतार–चढाव, विभाजन र पुनःएकीकरणका अनुभवलाई समेट्दै १५ विभिन्न पार्टी र समूहहरूको एकीकरणबाट पुनर्गठित नेकपाले नयाँ राजनीतिक परिस्थितिमा राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र सुशासनका मुद्दामा साझा पहल आवश्यक रहेको ठहर गरेको छ ।

पार्टीद्वारा जारी विस्तृत अपिलमा जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेश आन्दोलनदेखि पछिल्लो ‘जेन जी आन्दोलन’ सम्मका ऐतिहासिक संघर्षका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै वेपत्ता, घाइते तथा अपाङ्ग अग्रपङ्क्तिका योद्धाप्रति सम्मान व्यक्त गरिएको छ । हालको आन्तरिक अर्थ–राजनीतिक जटिलता र बदलिँदो क्षेत्रीय–अन्तर्राष्ट्रिय भू–राजनीतिलाई संवेदनशील ठहर गर्दै नेकपाले विद्यमान राजनीतिक व्यवस्थासँग पुरानो उत्पादन प्रणालीको अन्तर्विरोधका कारण जनतामा अपेक्षित परिवर्तन नआएको विश्लेषण गरेको छ ।

पार्टीका अनुसार यथास्थितिवादी शक्तिहरुले गणतान्त्रिक उपलब्धिमा धावा बोल्ने प्रयास गर्दै आएको र अर्कोतर्फ जनतामा सुशासन तथा सामाजिक न्यायप्रतिको चाहना तीव्र बन्दै गएको परिस्थितिले राष्ट्रिय सहमतिको पहल अपरिहार्य बनाएको छ । नेकपाले सरकारमा रहेर सुशासन र आर्थिक–सामाजिक रुपान्तरणका कार्यक्रम अघि बढाएको दाबी गर्दै, त्यसलाई रोक्न प्रतिगामी शक्तिहरुले राजनीतिक हस्तक्षेप गरेको आरोप लगाएको छ ।

जेन जी आन्दोलनका पृष्ठभूमिमा देखिएको असन्तुष्टि, त्यसपछि उत्पन्न हिंसा र अराजकताका घटनाको उल्लेख गर्दै पार्टीले त्यस आन्दोलनमा प्रकट भएको नयाँ पुस्ताको चाहनालाई राजनीतिक अडान, सुशासन र उन्नत लोकतन्त्रतर्फ निर्देशित गर्नुपर्ने जनाएको छ । गैरदलीय सरकार बनेपछि तत्कालको अनिश्चय केही हटेपनि संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनतामाथि चुनौती अझै बाँकी रहेको चेतावनी पार्टीले दिएको छ ।

घोषित तिथिमा निर्वाचन सम्पन्न गर्नु अत्यावश्यक रहेको पुनः दोहोर्‍याउँदै नेकपाले चुनावलाई बिथोल्ने, लोकतान्त्रिक दलहरूलाई कमजोर पार्ने तथा संविधानविरुद्ध कुचेष्टा गर्ने सम्भावित प्रयासप्रति सतर्कता व्यक्त गरेको छ । पार्टीले वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरूबीच साझा मोर्चा बनेर संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एकीकृत कदम चाल्न अपिल गरेको छ ।

नेकपाले समाजवादी मोर्चाबाट पार्टी एकतामा रूपान्तरण गर्दै ‘नेपाली विशेषताको समाजवाद’ लाई रणनीतिक कार्यक्रमका रूपमा अघि सारेको छ । माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै सार्वजनिक, सामुदायिक र निजी स्वामित्वको मिश्रित उत्पादन संरचना, शिक्षा–स्वास्थ्यमा राज्यको बढ्दो दायित्व, सामाजिक असमानता अन्त्य, असंलग्न र सन्तुलित परराष्ट्र नीति लगायतका आधारभूत पक्षहरूलाई पार्टी एकताको केन्द्रमा राखिएको बताइएको छ ।

स्वतन्त्रता र अनुशासनको सन्तुलनमा आधारित जनवादी केन्द्रीयतालाई संगठनात्मक आधार बनाउँदै पार्टीले एकता प्रक्रिया राष्ट्रिय महाधिवेशनमार्फत थप सुदृढ बनाइने जनाएको छ । पुनर्गठित नेकपाले वाम, समाजवादी, सच्चा लोकतन्त्रवादी तथा देशभक्त सबै शक्तिलाई समाजवादी परिवर्तनको दिशामा सुरू भएको एकता र ध्रुवीकरणको नयाँ यात्रामा सहभागी हुन खुलेर आह्वान गरेको छ ।

पोखरा एभेन्जर्सलाई पराजित गर्दै लुम्बिनी लायन्सको रोमाञ्चक जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई तीन विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ ।

पहिलो चार खेलमध्ये तीनमा हार बेहोरेको लुम्बिनी आजको आफ्नो पाँचौ खेलमा जित्नैपर्ने दबाबमा थियो । आजको जितसँगै लुम्बिनी तालिकामा पाँच खेलबाट चार अङ्कसहित पाँचौ स्थानमा उक्लिएको छ ।  आजको हार भए पनि पोखराको प्लेअफमा पुग्ने सम्भावना भने जीवितै छ । पोखराले हालसम्म चार खेलमध्ये एकमा जीत निकालेको छ । अहिले पोखरासँग दुई अङ्क मात्रै छ ।
पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९ दशमलव चार ओभरमा सात विकेटको क्षतिमा पूरा ग¥यो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ४० रन बनाए भने निरोशन दिकवेल्लाले महत्वपूर्ण ३७ रन बनाए । साथै सन्दीप जोराले २५ रनको योगदान दिए ।
पोखरा एभेञ्जर्सका लागि विपिन खत्री, खत्री मार्क टेलर र सागर ढकालले दुई/दुई विकेट लिए भने जिमी निशमले एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५० रन बनाएको थियो । पोखराले पारीको सुरुआत राम्रो गरेन । उसले १५ रन बनाउँदा दिनेश खरेललाई पहिलो विकेटका रुपमा र दोस्रो विकेटका रुपमा कप्तान कुशल भुर्तेललाई गुमायो ।
त्यसपछि आएका सुमित बर्मा खाता खोल्न सकेनन् भने तिर्तराज दासले पनि जम्मा एक रन बनाए । तर सातौ ब्याटरका रुपमा आएका जिमी निशम र ओपनर एडम रोसिङटनको जोडीले पाँचौ विकेटका लागि ९२ रनको महत्वपूर्ण साझेदारी ग¥यो । रोसिङटनले ६३ बलमा पाँच छक्का र सात चौकाको सहयोगमा ८१ रन बनाए भने निशमले ५१ रन बनाए । अर्धशतक बनाउने क्रममा निशमले तीन छक्का र तीन चौका प्रहार गरे  ।
लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले दुई/दुई विकेट लिए भने गुलबदिन नाइबले एक विकेट हात पारे ।  आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुनेछ ।