`

…जब नेटफ्लिक्सले फिल्मको मास्टर कपी हराइदियो

काठमाडौं। निकोलस केज र बेन किङ्सले अभिनित दोस्रो विश्वयुद्धमा आधारित फिल्म ‘फोर्टिट्युड’को अनइन्क्रिप्टेड मास्टर कपी रहेको हार्ड ड्राइभ नेटफ्लिक्सको लस एन्जलसस्थित कार्यालयबाट हराएपछि फिल्मका निर्माताले कम्पनीविरुद्ध १० करोड ५० लाख अमेरिकी डलर क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका छन्।

फिल्मका निर्माता तथा पटकथा लेखक स्विट्जरल्यान्डका व्यवसायी साइमन अफ्रामले बुधबार नेटफ्लिक्सविरुद्ध मुद्दा दायर गरेका हुन्। करिब ४ करोड ५० लाख अमेरिकी डलर लगानीमा निर्माण भएको भनिएको ‘फोर्टिट्युड’लाई प्री–प्रोडक्सनदेखि छायांकन पूरा हुँदासम्म करिब सात वर्ष लागेको थियो। फिल्मको निर्देशन साइमन वेस्टले गरेका हुन्।

मुद्दाको केन्द्रमा फिल्मको डिजिटल सिनेमा प्याकेज (डीसीपी) फाइल रहेको हार्ड ड्राइभ हराएको घटना छ। फिल्मको प्रदर्शन अधिकार खरिद गर्ने वा नगर्ने निर्णयका लागि गत जुनमा फिल्मका एक सह–निर्माताले डीसीपी फाइल नेटफ्लिक्सको लस एन्जलसस्थित कार्यालयमा बुझाएका थिए।

उजुरीका अनुसार, नेटफ्लिक्सले फिल्म हेरेर प्रदर्शन अधिकारबारे निर्णय गर्नका लागि उक्त फाइल कार्यालयमा राख्न आग्रह गरेको थियो। तर, केही समयपछि सह–निर्माता फिल्म फिर्ता लिन नेटफ्लिक्सको कार्यालय पुग्दा कम्पनीबाट अपेक्षित प्रतिक्रिया पाएनन्।

फिल्मको फाइल फिर्ता लिन लगातार प्रयास गर्दा पनि एक साताभन्दा बढी समयसम्म स्पष्ट जानकारी नदिइएको र त्यसपछि मात्र नेटफ्लिक्सले इमेलमार्फत कार्यालयबाट केही हार्ड ड्राइभ चोरी भएको जानकारी गराएको उजुरीमा उल्लेख छ।

नेटफ्लिक्सका ओरिजिनल फिल्मतर्फका निर्देशक सिन बर्नीले सह–निर्मातालाई पठाएको इमेलमा कम्पनीको कार्यालयबाट धेरैवटा ड्राइभ चोरी भएको र घटनाबारे सुरक्षा टोलीले अनुसन्धान गरिरहेको उल्लेख गरेका थिए। उनले कम्पनीका लागि यस्तो घटना पहिलो अनुभव भएको बताएका थिए।

फिल्मको मास्टर कपी अनइन्क्रिप्टेड अवस्थामा रहेको विषयले विवादलाई थप गम्भीर बनाएको छ। सामान्यतया रिलिज नभएका फिल्मका फाइलहरू सुरक्षाका लागि इन्क्रिप्टेड डीसीपीमार्फत आदानप्रदान गरिन्छन्। त्यस्ता फाइललाई पासवर्ड वा ‘की डेलिभरी म्यासेज’ (केडीएम) प्रणालीमार्फत मात्र खोल्न मिल्ने व्यवस्था हुन्छ।

नेटफ्लिक्सले भने उद्योगमा प्रचलित सुरक्षात्मक उपाय नअपनाई फिल्म डेलिभर गरिएको अवस्थामा त्यसबाट उत्पन्न जोखिमका लागि कम्पनी जिम्मेवार हुन नसक्ने बताएको छ।

कम्पनीले जारी गरेको वक्तव्यमा रिलिज नभएका फिल्मको सुरक्षा अत्यन्त संवेदनशील विषय भएको उल्लेख गर्दै उद्योगमा प्रचलित सुरक्षा प्रणालीबिना सामग्री उपलब्ध गराइएपछि त्यसको जोखिम नेटफ्लिक्समाथि मात्र थोपर्न नमिल्ने तर्क गरेको छ।

तर अफ्रामको मुद्दामा भने फिल्मको डीसीपी फाइल कसरी उपलब्ध गराउने भन्ने विषयमा नेटफ्लिक्सकै निर्देशन पालना गरिएको दाबी गरिएको छ। उजुरीका अनुसार सह–निर्माताले डीसीपी फाइल अनइन्क्रिप्टेड रहेको जानकारी नेटफ्लिक्सलाई दिएका थिए।

साथै, फिल्मको स्क्रिनिङ सकिएपछि फाइल डिलिट गर्नसमेत अनुरोध गरिएको थियो। तर, फाइल सुरक्षित रूपमा भण्डारण गर्नुको सट्टा नेटफ्लिक्सको कार्यालयको डेस्कमा राखिएको र त्यहीँबाट हार्ड ड्राइभ चोरी भएको हुन सक्ने अफ्रामको दाबी छ।

अफ्रामले दायर गरेको मुद्दामा नेटफ्लिक्सको लापरवाहीका कारण फिल्मको विशिष्टता जोखिममा परेको र त्यसबाट यसको सम्भावित बजार मूल्यमा ठूलो क्षति पुग्न सक्ने दाबी गरिएको छ।

फिल्म अझै सार्वजनिक नभएकाले यसको कथावस्तु, दृश्य तथा अन्य सामग्री अनधिकृत रूपमा बाहिरिएमा फिल्मको व्यावसायिक सम्भावनामा असर पर्न सक्ने निर्माता पक्षको तर्क छ।

मुद्दामा नेटफ्लिक्सले चोरी भएको हार्ड ड्राइभको अनुसन्धानबारे पर्याप्त जानकारी नदिएको र घटनाबारे प्रहरीमा उजुरी गरिएको हो वा होइन भन्ने विषयमा समेत स्पष्ट जानकारी उपलब्ध नगराएको आरोप लगाइएको छ।

निर्माता पक्षले फिल्मको सुरक्षा र संरक्षणको जिम्मेवारी नेटफ्लिक्सको कार्यालयमा पुगेपछि कम्पनीकै हुने दाबी गरेको छ। त्यसैले कार्यालयबाटै मास्टर कपी हराउनुमा नेटफ्लिक्सको लापरवाही रहेको उनीहरूको तर्क छ।

नेटफ्लिक्सले भने घटनापछि आफूले फिल्म निर्माता तथा उनको टोलीलाई सहयोग गर्न सक्ने सबै प्रयास गरिरहेको जनाएको छ।

कम्पनीका अनुसार ‘फोर्टिट्युड’को वितरण अधिकार नेटफ्लिक्ससँग नभए पनि फिल्मको सामग्रीको सुरक्षालाई कम्पनीले गम्भीरतापूर्वक लिएको छ। घटनाबारे विस्तृत अनुसन्धान गर्नुका साथै फिल्मको कुनै पनि अनधिकृत वितरण वा बिक्री हुन नदिन सम्भावित पाइरेसी साइटहरूको निगरानी गर्ने काम भइरहेको कम्पनीले जनाएको छ।

नेटफ्लिक्सका अनुसार अहिलेसम्म ‘फोर्टिट्युड’ अनधिकृत रूपमा इन्टरनेटमा सार्वजनिक भएको कुनै प्रमाण भेटिएको छैन। कम्पनीका एक अधिकारीले चोरी भएका हार्ड ड्राइभहरू फिल्मको सामग्री बेच्ने उद्देश्यले नभई अन्य कारणले लगिएको हुन सक्ने अनुमानसमेत गरेका थिए।

यसले फिल्मका निर्माताको दाबी र नेटफ्लिक्सको धारणा बीचको विवादलाई थप जटिल बनाएको छ। निर्माता पक्षले फिल्मको मास्टर कपी हराउनु मात्र पनि ठूलो क्षति भएको तर्क गरिरहेको छ भने नेटफ्लिक्सले अहिलेसम्म फिल्म लिक भएको प्रमाण नदेखिएको अवस्थामा आफूलाई दोषी ठहर गर्न नमिल्ने बताइरहेको छ।

‘फोर्टिट्युड’ निर्माणका क्रममा यो पहिलो कानुनी विवाद भने होइन। फिल्म निर्माण अघि बढाउने क्रममा निर्माता साइमन अफ्राम र प्रारम्भिक निर्देशक मार्टिन स्कोर्सेसेबीच पनि विवाद भएको थियो।

सन् २०२३ मा अफ्रामले स्कोर्सेसेविरुद्ध मुद्दा दायर गर्दै कार्यकारी निर्माताका रूपमा काम गर्न ५ लाख अमेरिकी डलर लिए पनि फिल्मलाई अगाडि बढाउन पर्याप्त काम नगरेको आरोप लगाएका थिए।

स्कोर्सेसेका कानुनी प्रतिनिधिले भने अफ्राम फिल्म उद्योगमा नयाँ व्यक्ति भएको र उनले परियोजनाबाट अवास्तविक अपेक्षा राखेको तर्क गरेका थिए। विवादपछि दुवै पक्षले एकअर्काविरुद्ध कानुनी दाबी अघि बढाएका थिए।

अन्ततः अर्को वर्ष दुवै पक्ष अदालतबाहिरै सहमतिमा पुगेका थिए।

अहिले भने फिल्मको मास्टर कपी हराएको घटनाले ‘फोर्टिट्युड’लाई पुनः कानुनी विवादको केन्द्रमा ल्याएको छ। अफ्रामले नेटफ्लिक्सबाट १० करोड ५० लाख अमेरिकी डलर क्षतिपूर्ति माग गरेका छन्।

नेटफ्लिक्सले भने निर्माता पक्षको दाबीप्रति असहमति जनाएको छ। कम्पनीका अनुसार अफ्रामका कानुनी प्रतिनिधिहरूले घटनाको समाधानका लागि सहकार्य गर्नुको सट्टा कम्पनीबाट ठूलो रकम असुल्ने प्रयास गरिरहेका छन्।

नेटफ्लिक्सले अफ्राम पक्षबाट फिल्मका लागि तत्काल १६ करोड ५० लाख अमेरिकी डलर माग गरिएको दाबीसमेत गरेको छ। कम्पनीले यस्तो अवस्थामा अनुसन्धानका संवेदनशील विवरण निर्माता पक्षसँग साझा नगर्ने निर्णय गरेको जनाएको छ।

यद्यपि, फिल्मको मास्टर कपी हराएको घटनाको वास्तविक जिम्मेवारी कसको हो भन्ने विषय अदालतको प्रक्रियाबाट टुंगो लाग्न बाँकी छ। अहिलेको अवस्थामा फिल्म अनधिकृत रूपमा सार्वजनिक भएको प्रमाणसमेत भेटिएको छैन।

ब्रड पिकमा ५ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन

काठमाडौं। पाकिस्तानको ब्रड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली पर्वतारोहीको खोज तथा उद्धारका लागि पर्यटन विभागले इस्लामाबादस्थित नेपाली दूतावासलाई पाकिस्तान सरकारसँग समन्वय गर्न निर्देशन दिएको छ।

विभागका अनुसार ब्रड पिकमा छ जना नेपाली पर्वतारोही सम्पर्कविहीन छन्। पाकिस्तानमा रहेका नेपाली पर्वतारोहण कम्पनीहरूले पनि घटनास्थलमा पुगेर स्थानीय अधिकारीसँग समन्वय गर्दै खोज तथा उद्धार अभियानमा सहभागी हुने तयारी गरेका छन्।

पर्यटन विभागका प्रवक्ता हिमाल गौतमका अनुसार पाकिस्तानमा नेपाली शेर्पा तथा पर्वतारोहण कम्पनीहरूको उल्लेखनीय उपस्थिति रहेकाले उनीहरूबीच खोज तथा उद्धारका लागि समन्वय भइरहेको छ।

गौतमले घटनालाई ‘अभूतपूर्व’ भन्दै विभिन्न स्रोतबाट आएका विरोधाभासपूर्ण सूचनाका कारण अझै केही आशा बाँकी रहेको बताएका छन्।

हिमपहिरोपछि नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’सहित १० जना आरोही सम्पर्कविहीन भएका थिए। घटनास्थलबाट चार जनाको शव फेला परेको छ भने उनीहरूको पहिचान हुन बाँकी छ।

खोज तथा उद्धारका लागि पाकिस्तानी सेनाका हेलिकप्टरसहित स्थल टोली परिचालन गरिएको छ।

धर्मभन्दा माथि राष्ट्रिय एकता: त्रिचन्द्रका विद्यार्थीले दिए सद्भावको सन्देश

काठमाडौं। पछिल्लो समय सुनसरी घटनापछि सामाजिक सद्भावमा देखिएको तनावप्रति ऐक्यबद्धता जनाउँदै त्रिचन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरूले शुक्रबार शान्ति र राष्ट्रिय एकताको सन्देश दिएका छन्।

विद्यार्थीहरूले आ-आफ्नो धार्मिक आस्थालाई प्रतिनिधित्व गर्ने पोशाक लगाएर सामूहिक रूपमा राष्ट्रिय गान गाएका थिए। विभिन्न धर्म, जात, भाषा र समुदायका विद्यार्थी एकै स्थानमा भेला भएर राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्नुपर्ने सन्देश दिएका हुन्।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले सुनसरीलगायत पछिल्ला घटनाले मुलुकको सहिष्णुता र भ्रातृत्वमा चुनौती सिर्जना गरेको उल्लेख गर्दै त्यसको समाधान आपसी सम्मान, सद्भाव र एकतामार्फत मात्रै सम्भव हुने बताएका छन्।

उनीहरूले नेपालका विद्यार्थी र युवा कुनै पनि धर्म, जात, भाषा वा लिङ्गका आधारमा विभाजित नभएको बताउँदै शान्ति, सहअस्तित्व र एकअर्काको समुन्नतिका पक्षमा उभिएको सन्देश दिएका छन्।

कर्फ्यु यथावत्, तस्वीरमा हेर्नुहोस् गोलबजारको ताजा अवस्था

सिरहा। सिरहाको गोलबजार क्षेत्रमा शुक्रबार बिहानदेखि अवस्था सामान्य बन्दै गएको छ। यद्यपि, गोलबजार–लहान क्षेत्रमा जारी कर्फ्यु भने अर्को सूचना नभएसम्म यथावत् रहने प्रशासनले जनाएको छ।

पूर्व–पश्चिम राजमार्गमा बिहानदेखि सवारीसाधन तथा सर्वसाधारणको चहलपहल न्यून छ। राजमार्गसहित संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएका छन्।

नेपाली सेनाले गोलबजारका विभिन्न गाउँबाट मुख्य सडकमा निस्कने बाटो तथा गल्लीहरूमा समेत निगरानी बढाएको छ। पुरानो चौक चोहर्वादेखि गोलबजारको गागन खोलासम्म सुरक्षाकर्मी परिचालन गरिएको छ।

कर्फ्युको पालना गराउन सुरक्षाकर्मीले सडकमा भेटिएका नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै फर्काइरहेका छन्। अत्यावश्यक काममा हिँडेकाहरूलाई भने सोधपुछपछि गन्तव्यतर्फ जान दिइएको छ।

यसैबीच, कर्फ्यु लागू नभएको सिरहाको कसहा क्षेत्रमा केही प्रदर्शनकारी पुनः पूर्व–पश्चिम राजमार्गमा उत्रिएका छन्। उनीहरूले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन्।
तस्वीरहरू:

मन्दिर परिसरमा पुरुष मृत भेटिएको घटनामा के भन्छ प्रहरी ?

जनकपुरधाम। धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित मन्दिर परिसरमा पुरुष मृत अवस्थामा फेला परेको घटना हाल जारी धार्मिक विवादसँग सम्बन्धित नरहेको प्रहरीले जनाएको छ।

मंगलबार राति अन्दाजी ४० वर्षीय बन्थु राउत कडेरी मन्दिर परिसरमा मृत अवस्थामा फेला परेका थिए। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कडेरी मन्दिरका पुजारी नभई बाहिर कामकाज गर्ने र राति मन्दिरमा सुत्न आउने व्यक्ति थिए।

घटनाको जानकारी पाएलगत्तै कुकुरसहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटाएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट घटना आपराधिक मनसाय भएका व्यक्तिबाट भएको देखिएको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले विज्ञप्ति जारी गर्दै घटनालाई धार्मिक विवादसँग नजोड्न आग्रह गरेका छन्।

प्रहरीले समाजमा शान्ति कायम राख्न सहयोग गर्न नागरिकलाई अपिल गर्दै घटनामा संलग्न जोसुकै भए पनि छिट्टै कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।

सिरहाको गोलबजारमा कर्फ्यु जारी

काठमाडौं। सिरहाको गोलबजारमा बिहीबार भएको गोलीकाण्डपछि गोलबजार र लहान क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ।

नेपाली सेना र नेपाल प्रहरी परिचालन गरिएपछि अवस्था क्रमशः सामान्य बन्दै गएको प्रशासनले जनाएको छ।

गोली लागेर एक बालकको मृत्यु भएपछि थप अप्रिय घटना हुन नदिन गोलबजारको पूर्वी सीमा गागन खोलादेखि पश्चिमी सीमा चोहर्वासम्म सेना र प्रहरी परिचालन गरिएको हो। बजार क्षेत्रका सहायक सडकमा समेत सुरक्षा निकाय तैनाथ गरी आवतजावतमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालयले गोलबजार र लहान क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कर्फ्यु आदेशलाई निरन्तरता दिइएको हो।

सुनसरीको देवानगञ्जमा भएको घटनापछि सुरु भएको आन्दोलनका क्रममा बिहीबार अपराह्न गोलबजारको क्याम्पस चोकमा प्रहरीले चलाएको गोली लागेर सिरहाको औरही गाउँपालिका–२ निवासी करिब १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो।

घटनामा धनुषाका सुबोध ठाकुर र अर्का एक जना महन्थ लक्ष्मणदास घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ।

 सिरहाको गोलबजार तनावग्रस्त

सिरहा। सिरहाको गोलबजारमा बिहीबार बिहानदेखि सुरु भएको दुई समूहबीचको झडप उग्र बन्दै गएपछि तनाव थप बढेको छ ।

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासनले दिउँसोदेखि गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्युका बीच पनि प्रदर्शन र आगजनीका घटना रोकिएका छैनन् ।

घटनाका क्रममा एक जनाको मृत्यु भएपछि गोलबजारको अवस्था थप तनावग्रस्त बनेको हो । मृत्युपछि प्रदर्शनकारीहरू थप आक्रोशित बनेका छन् ।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै नेपाली सेनासमेत सडकमा परिचालन गरिएको छ । प्रहरीले प्रदर्शन नियन्त्रण गर्न केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।

तर, सुरक्षा निकायको बाक्लो उपस्थितिका बाबजुद गोलबजार क्षेत्रमा प्रदर्शन तथा आगजनी जारी रहेको जनाइएको छ ।

तनाव बढ्दै गएपछि प्रशासनले सर्वसाधारणलाई घरबाहिर ननिस्कन तथा शान्ति–सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरेको छ ।

विराटनगरमा शुक्रबार सद्भाव र्‍याली निकालिने

काठमाडौं । विराटनगरमा धार्मिक तथा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले शुक्रबार सद्भाव र्‍याली आयोजना गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङको पहलमा विराटनगरस्थित मोरङ उद्योग व्यापार संघको हलमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले सदियौँदेखि कायम रहँदै आएको हिन्दू र मुस्लिम समुदायबीचको सामाजिक एकता तथा धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने कुनै पनि गतिविधि निन्दनीय भएको निष्कर्ष निकालेको छ ।

पछिल्लो घटनाक्रमपछि सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षले संयमित भूमिका निर्वाह गर्नुपर्नेमा बैठकका सहभागीहरूले जोड दिएका थिए । शान्ति–सुरक्षा मजबुत बनाउन सुरक्षा निकायलाई आवश्यक सहयोग गर्नुपर्ने धारणा पनि उनीहरूले राखेका थिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार सामाजिक तथा धार्मिक सद्भावको सन्देश प्रवाह गर्न शुक्रबार आयोजना हुने र्‍यालीमा विभिन्न क्षेत्रका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहनेछ ।

सर्वदलीय बैठकमा सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, धार्मिक संघ–संस्थाका प्रतिनिधि, उद्योगी–व्यवसायी तथा युवाहरूको सहभागिता थियो ।

बैठकमा सहभागीहरूले सामाजिक सद्भाव कायम गर्न जिल्ला प्रशासन कार्यालय मोरङले मठ, मन्दिर, मस्जिदलगायतका धार्मिक तथा अन्य सार्वजनिक स्थानमा माइक र लाउडस्पिकर बाहिर बजाउन लगाएको निषेधात्मक व्यवस्थाको समेत स्वागत गरेका थिए ।

सहभागीहरूले धार्मिक तथा सामाजिक संवेदनशीलतालाई ध्यानमा राख्दै अफवाह, उत्तेजना र द्वेष फैलाउने गतिविधिबाट टाढा रहन सबै पक्षलाई आग्रह गरेका छन् ।

सामाजिक सद्भाव कायम गर्न रास्वपा सांसदलाई आ-आफ्नो क्षेत्रमा खटिन रविको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूलाई आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रमा पुगेर सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका खेल्न निर्देशन दिएका छन् ।

सुनसरी घटनापछि कोशी र मधेशका विभिन्न क्षेत्रमा तनावको अवस्था देखिएपछि लामिछानेले बिहीबार सिंहदरबारमा दुवै प्रदेशका सांसदहरूलाई आकस्मिक रूपमा बोलाएर छलफल गरेका थिए ।

बैठकमा उनले पछिल्लो घटनाक्रमबारे जानकारी लिँदै स्थानीयस्तरमा सामाजिक सद्भाव कायम गर्न सांसदहरूले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको सांसद रहबर अन्सारीले बताए ।

उनका अनुसार लामिछानेले सांसदहरू काठमाडौंमै बसेर अवस्थाबारे टिप्पणी गर्नुभन्दा प्रभावित क्षेत्रमै पुगेर नागरिकसँग संवाद गर्न र सद्भावको वातावरण बनाउन भूमिका खेल्न निर्देशन दिएका छन् ।

सांसद अन्सारीले पार्टीका सांसदहरू अब आ–आफ्नो जिल्ला तथा क्षेत्रमा पुगेर स्थानीय प्रशासन र राज्यका सुरक्षा संयन्त्रसँग समन्वय गर्दै काम गर्ने बताए ।

उनले सामाजिक सद्भावमा खलल पुर्‍याउने तथा समुदायबीच द्वेष फैलाउने प्रयास हुन सक्ने भन्दै त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए ।

सुनसरी घटनामा गोली चल्दा ज्यान गएको विषय दुःखद् भएको उल्लेख गर्दै अन्सारीले यस्तो घटनाले सामाजिक सद्भावमा थप असर पर्न नदिन सबै राजनीतिक दल र नागरिक जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए ।

उनका अनुसार देशमा सामाजिक सद्भाव कायम राख्नु कुनै एक दल वा समुदायको मात्रै जिम्मेवारी नभई सामूहिक दायित्व हो । मुलुकलाई एकताबद्ध राख्न सके मात्र सबै नागरिक सुरक्षित रहने उनको भनाइ छ ।

अल्लु अर्जुनको ‘राका’ दुई भागमा आउने ?

काठमाडौं। दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन यतिबेला निर्देशक एट्लीको बहुप्रतीक्षित फिल्म ‘राका’को छायांकनमा व्यस्त छन् ।

फिल्ममा अल्लु अर्जुनसँगै अभिनेत्री दीपिका पादुकोण मुख्य भूमिकामा रहने बताइएको छ ।

फिल्म निर्माण पक्षले अहिलेसम्म कथावस्तु र पात्रबारे धेरै विवरण सार्वजनिक गरेको छैन । तर, पछिल्लो समय यो फिल्म दुई भागमा रिलिज हुने तयारीमा रहेको चर्चा बढेको छ ।

इन्डिया टुडेको रिपोर्टअनुसार फिल्मको कथा दुई फरक समयरेखामा आधारित हुनेछ । यसको एउटा भाग पौराणिक-वैदिक तथा आदिवासी परिवेशमा केन्द्रित हुने बताइएको छ भने अर्को भाग आधुनिक समयको कथामा आधारित रहनेछ ।

रिपोर्टमा बलिउड अभिनेता शाहरूख खानले फिल्ममा क्यामियो भूमिका निर्वाह गर्न सक्ने सम्भावना पनि उल्लेख गरिएको छ । यस्तै, आधुनिक समयको कथामा मृणाल ठाकुर मुख्य अभिनेत्रीका रूपमा देखिन सक्ने तथा ऐतिहासिक भागमा दीपिका पादुकोणसँगै जाह्नवी कपूर र रश्मिका मन्दानाको पनि भूमिका हुन सक्ने चर्चा छ ।

यद्यपि, यीमध्ये कुनै पनि विवरणलाई फिल्म निर्माण टिमले हालसम्म आधिकारिक रूपमा पुष्टि गरेको छैन ।

प्यान–इन्डिया स्तरमा निर्माण भइरहेको ‘राका’लाई ठूलो बजेटको साइफाइ एक्सन फिल्मका रूपमा हेरिएको छ । फिल्ममा व्यापक रूपमा सीजीआई र भीएफएक्स प्रयोग हुने बताइएको छ ।

रिपोर्टअनुसार फिल्मको बजेट करिब १ हजार करोड भारतीय रुपैयाँसम्म पुग्न सक्ने चर्चा छ । ठूलो बजेट र भव्य प्राविधिक प्रस्तुतिका कारण फिल्मले भारतीय सिनेमामा प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

फिल्म सन् २०२७ मा प्रदर्शनमा आउने अपेक्षा गरिएको छ । तर, निर्माण पक्षले अहिलेसम्म यसको आधिकारिक रिलिज मिति घोषणा गरेको छैन ।

संवाद र सहमतिमा आउन ओलीको अपील

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेका बेला द्वन्द्व र हिंसाको बाटोबाट समस्या समाधान खोज्न नहुने बताएका छन् ।

उनले वर्तमान संकटको निकास संवाद, सहमति र राजनीतिक सहकार्यबाट खोज्न सबै पक्षसँग अपील गरेका छन् ।

ओलीले जनतालाई आपसमा विभाजित गरी अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्र हुन सक्नेतर्फ समेत सचेत रहन आग्रह गरेका छन् । उनले सामाजिक सद्भाव बिगार्ने तथा जनताबीच विभाजन ल्याउने गतिविधिप्रति सजग हुनुपर्ने बताएका हुन् ।

मुलुकको पछिल्लो परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै ओलीले प्रमुख राजनीतिक दलहरूलाई आपसी राजनीतिक प्रतिस्पर्धा, आरोप–प्रत्यारोप र सस्तो लोकप्रियताभन्दा माथि उठ्न आग्रह गरेका छन् । शान्ति, सुरक्षा र राजनीतिक स्थायित्व कायम गर्न सबै दलबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

राष्ट्रको अस्तित्व, शान्ति–सुरक्षा र सामाजिक सद्भावमाथि संकट आउन सक्ने अवस्था देखिएको भन्दै ओलीले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताएका छन् ।

उनले राजनीतिक दलसँगै नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न धार्मिक र सामाजिक समुदायका अगुवाहरूलाई समेत शान्ति स्थापनाका लागि एकजुट हुन आह्वान गरेका छन् ।

ओलीले भनेका छन्, ‘यस घडीमा म सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न धार्मिक एवं सामाजिक सम्प्रदायका अगुवाहरूलाई राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन हार्दिक आह्वान गर्दछु ।’

यस्तो छ ओलीको अपीलः

सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा विगत केही दिनदेखि उत्पन्न तनावग्रस्त परिस्थिति, राज्य पक्षबाट भएको बल प्रयोग तथा त्यस क्रममा स्थानीय युवा ओमप्रकाश मेहता, आज सिरहाका गणेश यादवको गोली लागेर भएको दुःखद निधन र अन्य नागरिकहरू गम्भीर घाइते भएको घटनाप्रति हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ ।

अमानवीय क्रम रोकिनुको सट्टा झन् उग्र बन्दै आज सिरहा लगायतका विभिन्न स्थानहरूमा समेत गोली लागी थप नागरिकहरूको ज्यान गएको खबरले हामीलाई अत्यन्त स्तब्ध र मर्माहत बनाएको छ । यस हिंसामा ज्यान गुमाउनुभएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै, घाइते नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

यस जटिल र संवेदनशील घडीमा सम्पूर्ण नागरिक, राजनीतिक दल तथा सरोकारवालाहरूसँग म निम्नअनुसार अपिल गर्दछुः

१. संयमता र सामाजिक सद्भावः

नागरिकहरूबीचको एकता र भ्रातृत्व नै राष्ट्रको बल हो । जनतालाई आपसमा विभाजित गर्दै अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्रहरू भइरहेको हुन सक्नेतर्फ सचेत हुँदै नेकपा (एमाले) र अन्य राजनीतिक पार्टीका नेता–कार्यकर्ता, नागरिक समाज र सञ्चारकर्मी लगायत सम्पूर्ण आम नागरिकहरूलाई कुनै पनि प्रकारको भ्रामक प्रचारको पछि नलागी संयमित हुन, सामाजिक सद्भाव र एकता कायम राख्नकालागि सक्रिय हुन हार्दिक अनुरोध गर्दछु ।

२. सरकारको गैरजिम्मेवार भूमिका र मौनताः

नागरिकको जीउधनको रक्षा गर्नु र संवादको माध्यमबाट समस्याको समाधान गरी देशलाई शान्तिको बाटोमा लैजानु सरकारको प्राथमिक दायित्व हो । तर, राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दा समेत सरकारले देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता अत्यन्त शंकास्पद एवं भत्र्सनायोग्य छ । हिंसात्मक कदम तत्काल रोकी अविलम्ब संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्दछु ।

३. दलहरूबीच राजनीतिक सहकार्यः

मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको बेला मुख्य राजनीतिक दलहरूले आपसी राजनीतिक प्रतिस्पर्धा, आरोप–प्रत्यारोप र सस्तो लोकप्रियताभन्दा माथि उठेर मुलुकमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सहकार्य गर्नु आवश्यक छ ।

४. राष्ट्रिय एकता र शान्तिका लागि आह्वानः

द्वन्द्व र हिंसाबाट समस्याको समाधान हुन सक्दैन । संवाद, सहमति र जिम्मेवार सहकार्यले नै वर्तमान जटिलताबाट मुलुकलाई निकास दिने छ ।

राष्ट्रको अस्तित्व, शान्ति–सुरक्षा र सामाजिक सद्भावमाथि संकट आउन लागेको यस घडीमा म सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न धार्मिक एवं सामाजिक सम्प्रदायका अगुवाहरूलाई राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन हार्दिक आह्वान गर्दछु ।

तस्वीरमा हेर्नुहोस् सिरहा सदरमुकामको ताजा अवस्था

सिरहा।  सिरहा सदरमुकाममा प्रदर्शन चर्किएपछि जनजीवन प्रभावित भएको छ। प्रदर्शनकारीले बजारका पसलहरू बन्द गराएका छन् भने सडकमा टायर बालेर प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीले विद्युतको पोलसमेत सडकमा राखेर सवारीसाधनको आवागमन अवरुद्ध पारेका छन्। सडक अवरुद्ध भएपछि सदरमुकाम क्षेत्रमा यातायात प्रभावित भएको छ।

प्रदर्शनका कारण सिरहा सदरमुकामको अवस्था तनावपूर्ण बनेको छ।

तस्वीरहरू:

 

वीरगञ्जमा निषेधाज्ञा जारी

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो।

निषेधाज्ञा अवधिमा वीरगञ्ज महानगरपालिकाअन्तर्गत प्रतिमा चोक, बसपार्क बाइपास रोड, तिलावे पुल, गण्डक चोक र शंकराचार्य गेटले घेरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ।

त्यसैगरी उक्त क्षेत्रमा सभा, जुलुस तथा प्रदर्शन गर्नसमेत प्रशासनले प्रतिबन्ध लगाएको छ।

गोलबजारमा कसले चलायो गोली ? बेखबर प्रशासन

काठमाडौं। सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। तर गोली कसले चलाएको हो भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज अधिकारीले घटनामा गोली कसले चलाएको भन्ने पुष्टि भइनसकेको बताएका छन्। उनका अनुसार घटनाको प्रकृति र गोली चलेको अवस्थाबारे सुरक्षा निकायले विस्तृत अनुसन्धान गरिरहेको छ।

‘गोली कसले चलाएको हो भन्ने विषय अहिले नै पुष्टि भएको छैन। घटनाका सबै पक्षबारे अनुसन्धान भइरहेको छ,’ अधिकारीले भने।

गोलबजार क्षेत्रमा प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था थप कडा बनाएको छ। स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको प्रशासनले जनाएको छ।

प्रधानमन्त्री बालेनले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले सुनसरी घटनापछि उत्पन्न परिस्थितिबारे आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार शाहले आजै सम्बोधन गर्न लागेका हुन् । सम्बोधनको तयारी भइरहेको स्रोतले जनाएको छ ।

सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको घटनापछि विभिन्न जिल्लामा तनाव फैलिँदै गएपछि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । पछिल्लो अवस्थाबारे सरकारको धारणा सार्वजनिक गर्न तथा शान्ति–सुरक्षा कायम गर्न अपिल गर्ने तयारी रहेको बताइएको छ ।

जनकपुरमा तनाव, प्रहरीले चलायो ४१ सेल अश्रुग्यास

काठमाडौं। जनकपुरमा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

जनकपुर उपमहानगरपालिका–८ स्थित पगलाबाबा धर्मशाला नजिक भेला भएका करिब ५ सय प्रदर्शनकारीलाई हटाउने क्रममा प्रहरीले करिब ४१ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एक अधिकृतले बताएका छन्।

प्रहरीका अनुसार हिन्दु धर्मावलम्बीहरू धर्मशालामा भेला भएर नजिकैको मुस्लिम बस्तीमा प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो। त्यसक्रममा तनाव बढेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको हो।

घटनामा दुई जना प्रदर्शनकारी घाइते भएका छन्। झडप नियन्त्रण गर्ने क्रममा तीन जना प्रहरीसमेत घाइते भएको प्रहरीले जनाएको छ।

सिरहामा प्रदर्शन उग्र बन्दै, गोलबजारको एबी मलमा आगजनी

काठमाडौं । सिरहामा प्रदर्शन चर्किँदै गएपछि जिल्लाको सुरक्षा अवस्था तनावग्रस्त बनेको छ। बिहीबार बिहानदेखि प्रदर्शनले उग्र रूप लिएसँगै विभिन्न स्थानमा आगजनी र तोडफोडका घटना बढेका छन्।

सुरक्षा अवस्था बिग्रिएपछि जिल्ला प्रशासनले जिल्लाका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेशसमेत जारी गरेको छ। तर कर्फ्युका बीच पनि केही स्थानमा प्रदर्शन र तोडफोडका घटना रोकिएका छैनन्।

यसै क्रममा गोलबजारमा रहेको सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा आगजनी गरिएको छ। आगजनीपछि क्षेत्रमा थप तनाव बढेको छ।

घटनापछि प्रहरीले अवस्था नियन्त्रणमा लिन सुरक्षा परिचालन बढाएको छ। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच थप झडप हुन नदिन प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाएको छ।

कप्तानगञ्ज घटनालाई लिएर सुरु भएको प्रदर्शन विभिन्न क्षेत्रमा फैलिँदै गएपछि सिरहाको सुरक्षा अवस्था थप संवेदनशील बनेको हो।

‘गृह प्रशासनको सक्रियतामाथि गम्भीर प्रश्न उठेको छ’

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि मधेशका विभिन्न क्षेत्रमा फैलिएको तनावका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै गृह प्रशासनको कार्यशैलीमाथि प्रश्न उठ्न थालेको छ।

रास्वपा नेता मनिष झाले पछिल्लो घटनाक्रममा राज्यको सक्रियता र तदारुकता अपेक्षाअनुसार नदेखिएको बताएका छन्। पार्टी सभापति रवि लामिछानेसँग मधेशका सांसदहरूको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै झाले गृह प्रशासनप्रति सडकबाट उठिरहेका प्रश्नलाई गम्भीर रूपमा लिनुपर्ने बताएका हुन्।

गृहमन्त्री सुधन गुरुङ स्वयं आन्दोलनबाट राजनीतिक यात्रामा आएका व्यक्ति भएकाले वर्तमान परिस्थितिलाई संवेदनशील रूपमा बुझ्नुपर्ने झाको भनाइ छ। उनले भने, ‘गृहमन्त्री आफैं आन्दोलन बुझ्नु भएको मान्छे हो । उहाँ आफैं पीडितसँग रोएको मान्छे हो।’

झाले सुनसरी घटनापछि राज्यले पीडित परिवारलाई तत्काल सम्बोधन गर्न नसकेको संकेत गर्दै मृतकका परिवारलाई सान्त्वना र क्षतिपूर्तिको विषयमा सरकारको भूमिका पर्याप्त नदेखिएको बताए।

उनका अनुसार घटनापछि देखिएको असन्तुष्टि सुनसरीमा मात्र सीमित रहेन। तनाव विस्तार हुँदै जनकपुरसम्म पुगेपछि अवस्था थप संवेदनशील बनेको उनले बताए।

धनुषा–३ का सांसदसमेत रहेका झाले जनकपुरको अवस्थाबारे चिन्ता व्यक्त गर्दै बजार तथा पसल बन्द रहेको र विभिन्न स्थानमा प्रदर्शन भइरहेको जानकारी दिए। उनका अनुसार चोकचोकमा विरोध प्रदर्शन भइरहेकाले जनकपुरको सुरक्षा अवस्था सहज नरहेको देखिएको छ।

सुनसरीबाट सुरु भएको घटनाको प्रभाव मधेशसम्म फैलिन थालेपछि रास्वपाकै सांसदहरूले सभापति लामिछानेसँग गृहमन्त्रीको कार्यशैलीबारे गुनासो गरेका थिए। सम्बन्धित क्षेत्रका सांसदहरूसँग समेत गृहमन्त्रीले पर्याप्त समन्वय नगरेको उनीहरूको असन्तुष्टि थियो।

पछिल्लो घटनाक्रमलाई समयमै नियन्त्रणमा लिन राज्यले प्रभावकारी समन्वय, संवाद र पीडितप्रति संवेदनशीलता देखाउनुपर्ने दबाब सरकारमाथि बढ्दै गएको छ।

कप्तानगञ्ज घटनापछि लहानमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौं। कप्तानगञ्ज घटनालाई लिएर प्रदर्शन चर्किएपछि सुरक्षा अवस्था बिग्रन सक्ने भन्दै सिरहाको लहान क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार दिउँसो ४ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाएको हो। पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण तथा जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम आदेश जारी गरेका हुन्।

प्रशासनका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिकाको पूर्वमा बलान खोला, पश्चिममा सरस्वती खोला (बाटिका होटल पश्चिम) र दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गको ५०० मिटर आसपासको क्षेत्रमा कर्फ्यु लागू गरिएको छ।

कर्फ्यु अवधिमा उक्त क्षेत्रमा आवतजावत, भेला, प्रदर्शन, सभा, बैठक, घेराउ तथा नाराबाजी गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश उल्लङ्घन गरी निषेधित गतिविधि गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले चेतावनी दिन सक्ने र स्थिति नियन्त्रणमा लिन आवश्यक परे गोलीसमेत चलाउन सक्ने जनाएको छ।

सुनसरी घटनापछि अन्तिमराजा ज्ञानेन्द्रको अपिल : ‘नेपाली मिलौं, सद्भाव कायम राखौं’

काठमाडौं। अन्तिमराजा ज्ञानेन्द्र शाहले सुनसरी घटनापछि देशका विभिन्न क्षेत्रमा देखिएको तनावप्रति चिन्ता व्यक्त गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै नेपालीलाई आग्रह गरेका छन्।

निर्मल निवासस्थित संवाद सचिवालयमार्फत जारी सद्भाव सन्देशमा शाहले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले विविधताभित्रको एकता नै नेपालको पहिचान र गौरव भएको बताएका छन्।

नेपाली समाज परापूर्वकालदेखि नै आपसी प्रेम, सद्भाव र सहअस्तित्वका आधारमा अघि बढ्दै आएको उल्लेख गर्दै उनले सामाजिक, धार्मिक तथा सांस्कृतिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन्।

सुनसरीका विभिन्न गाउँबस्तीमा भएको द्वन्द्व र विवादका कारण जनधनको क्षति हुनुका साथै त्यसको प्रभाव कोशी क्षेत्र हुँदै तराईका विभिन्न भूभागसम्म फैलिएकोप्रति उनले दुःख व्यक्त गरेका छन्।

नेपाल सबै समुदायबीचको सामञ्जस्यका कारण परिचित रहेको उल्लेख गर्दै शाहले यस्ता अवाञ्छित घटना मुलुकका मौलिक मूल्य र मान्यताविपरीत रहेको बताएका छन्।

उनले देशका जुनसुकै भूभागमा बसोबास गर्ने नेपालीलाई एकताबद्ध हुँदै मेलमिलाप, सहअस्तित्व र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।

अहिलेको संवेदनशील अवस्थामा नेपालीबीचको एकता र सद्भाव नै प्रमुख आवश्यकता रहेको उनको सन्देश छ।

राप्रपामा लास र दास नहुने भन्दै २६ रोल्पाली नेताले छाडे लिङ्देनलाई

काठमाडौं। पार्टीको मूल नीति र महाधिवेशनको म्यान्डेट अवज्ञा गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले लाखौं कार्यकर्तासहित राप्रपाको भविष्य धरापमा पारेको भन्दै रोल्पा जिल्लाका केन्द्रीय तथा जिल्ला तहका नेताहरुले सामूहिक राजीनामा दिएका छन् ।

‘राप्रपाभित्र दास र लास भएर बसीरहन हामी कदापि सक्दैनौं,’ सामुहिक राजीनामा पत्रमा रोल्पा जिल्लाका शीर्ष २६ नेताहरुले भने ।

‘राप्रपा नेतृत्वबाट धोका भयो, त्यसैले सच्चा राष्ट्रवादी दलमा समाहित हुने हामीले निर्णय लिएका हौं,’ सहायक महामन्त्री पदबाट राजीनामा दिएका टीका बहादुर वलीले बुधबार भने ।

लिङदेनले पार्टीको मूल नीति र सिद्धान्तविरुद्ध पटकपटक राजसंस्था पूनर्स्थापनाको आन्दोलन तुहाउने दुष्कर्म गरेको आरोप उनीहरुको छ । सडक र सदन दुबै विकल्प रोज्ने महाधिवेशनको निर्णय निरंकुश शैलीमा लिङदेनले एक्लै लत्याएर आन्दोलन नगर्ने स्वेच्छाचारी घोषणा गरेकोमा राजीनामा पत्रमा असन्तुष्टी प्रकट गरिएको छ ।

सामुहिक राजीनामा दिनेहरुमा सहायक महामन्त्री टीका बहादुर वली, प्रदेश सदस्य गोविन्द बलमी, सहअध्यक्ष गन्ज बहादुर शाही, जिल्ला उपाध्यक्षहरु विनोद जंग सुवेदी, कुल बहादुर राना, गंज बहादुर शाही, रन सिंह दमाई, रहसमाली दर्जी, सचिव दुर्गा बहादुर पुन र कोषाध्यक्ष निमा थापा छन् । त्यसैगरी प्रदेश क समितिका अध्यक्ष ओबिलाल विष्ट, प्रदेश ख समितिका अध्यक्ष राजेन्द्र वली, जिल्ला सदस्यहरु विर्ष बहादुर विष्ट, कृष्ण बुढाथोकी, हरीलाल पुन, रुपेन्द्र केसी, पूर्ण बहादुर वली, मोहन घर्ती, विशाल घर्ती, खड्क बहादुर वली, छविलाल केसी, धन बहादुर घर्ती, पदम पुन, जुद्ध बहादुर केसी, पूर्ण बहादुर घर्ती र पूर्ण बहादुर वली छन् ।

राप्रपाबाट सामुहिक राजीनामा दिने नेताहरुको समूह डा. धवलशम्सेर राणाको नेतृत्वमा बन्न लागेको राजनीतिक दलमा समाहित हुने सम्वद्ध सुत्रको भनाइ छ ।

गत चुनावमा राप्रपाका ९७ प्रतिशत उम्मेदवारको जमानत जफत भएको, अध्यक्ष स्वयंले चुनाव हारेबाट जनतामाझ राप्रपाको विश्वास गुमेको राजीनामा पत्रमा भनिएको छ ।

गोलबजारमा झडप, गोली लागेर एकजनाको मृत्यु

सिरहा। सिरहाको गोलबजारमा दुई पक्षबीच भएको झडपमा गोली लागेर एकजनाको मृत्यु भएको छ। कर्फ्यु आदेश लागू रहेकै अवस्थामा झडप बढेपछि गोलबजारको अवस्था तनावग्रस्त बनेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार मृत्यु हुनेमा गणेश यादव रहेका छन्।

घटनापछि स्थिति नियन्त्रणमा लिन गोलबजार क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ। सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ।

घटनामा गोली कसरी चल्यो र यादवको मृत्यु कसको गोलीबाट भयो भन्नेबारे भने प्रशासनले विस्तृत विवरण सार्वजनिक गरेको छैन।

संसद १९ गतेसम्म स्थगित

काठमाडौं। प्रतिनिधिसभाको बैठक साउन १९ गतेसम्मका लागि स्थगित भएको छ।

सभामुख डोलप्रसाद अर्यालले बिहीबार बसेको बैठकलाई साउन १९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्।

१५ दिनपछि बिहीबार बसेको प्रतिनिधिसभाको बैठक फेरि पाँच दिनका लागि स्थगित गरिएको हो।

प्रचण्डको प्रश्न : संकटमा प्रधानमन्त्री कहाँ छन् ? [पूर्णपाठ]

काठमाडौं। सुनसरीको देवानगञ्ज-३, कप्तानगञ्जमा दुई समुदायबीचको तनाव हिंसामा परिणत भएर दुई जनाको ज्यान गएपछि पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले संकटका बेला राजनीतिक दलहरूबीच संवाद र सहकार्य गर्नुपर्नेमा सरकार त्यसबाट टाढिएको आरोप लगाए।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले सुनसरीसहित पूर्वी नेपालका विभिन्न जिल्लामा देखिएको तनावलाई सामान्य घटनाका रूपमा नलिन आग्रह गरे। उनका अनुसार यस्तो संवेदनशील अवस्थामा प्रधानमन्त्रीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने भए पनि प्रधानमन्त्री बालेन्द्र शाह त्यसमा चुकेका छन्।

प्रचण्डले नेपालको राजनीतिक इतिहासमा जटिल परिस्थितिको समाधान संवाद र सहकार्यबाटै खोजिएको उदाहरण प्रस्तुत गरे। सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउँदा होस् वा संविधान निर्माण, मधेस आन्दोलन, भूकम्प तथा बाढीपहिरोजस्ता संकटमा, सत्तापक्ष र प्रतिपक्षबीचको सहकार्यले मुलुकलाई निकास दिएको उनको भनाइ थियो।

२०७२ सालको भूकम्पलाई स्मरण गर्दै उनले त्यतिबेला आफू प्रमुख प्रतिपक्षी दलको नेता रहे पनि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासँग सहकार्य गरेको बताए। संकटका बेला सत्तापक्ष र प्रतिपक्षको दूरीभन्दा राष्ट्रिय आवश्यकता ठूलो हुने उनको तर्क थियो।

तर अहिले त्यही राजनीतिक संस्कार कमजोर हुँदै गएको प्रचण्डको आरोप छ। सुनसरी घटनापछि सर्वदलीय संवादको पहल भए पनि त्यसमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थिति देखिनु चिन्ताजनक भएको उनले बताए।

रास्वपाका सभापति रवि लामिछानेको पहलमा सर्वदलीय बैठक बसेर साझा अपिल जारी भएको उल्लेख गर्दै प्रचण्डले यस्तो पहल प्रधानमन्त्री आफैंले गर्नुपर्ने बताए। पार्टी सभापतिले निर्वाह गरेको भूमिका सकारात्मक भए पनि सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री र गृह मन्त्रालय सम्हाल्ने मन्त्री नै संवेदनशील बैठकबाट टाढा रहनु गम्भीर विषय भएको उनको भनाइ थियो।

प्रचण्डले प्रधानमन्त्री शाहको पछिल्लो कार्यशैलीमाथि पनि प्रश्न उठाए। राष्ट्रपतिको नीति तथा कार्यक्रमसम्बन्धी सम्बोधन चलिरहेका बेला प्रधानमन्त्री संसद्बाट बाहिरिनु, गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्नु र संकटका बेला सर्वदलीय छलफलमा अनुपस्थित हुनुजस्ता घटनाले सरकारको प्राथमिकतामाथि प्रश्न उठाएको उनले बताए।

उनले सरकारका पछिल्ला गतिविधिले निश्चित वर्गको हितलाई मात्र प्राथमिकता दिएको हो कि भन्ने प्रश्नसमेत उठेको बताए। सुकुम्बासी, लघुवित्त पीडित, विद्यार्थी, श्रमिक, सीमा, कर प्रणाली तथा आर्थिक समस्यासँग जोडिएका विषयमा जनताको असन्तुष्टि बढिरहेको उनको दाबी थियो।

प्रचण्डले वर्तमान सरकारबाट जनताले ठूलो अपेक्षा राखेको भए पनि अपेक्षाअनुसार परिणाम देखिन नसकेको बताए। पुराना सरकारभन्दा नयाँ सरकार अझ प्रभावकारी बन्नुपर्ने अपेक्षा रहे पनि कतिपय निर्णय र गतिविधिले उल्टै निराशा बढाएको उनको टिप्पणी थियो।

यसैबीच, उनले प्रधानमन्त्री शाहलाई पुराना राजनीतिक दलका नेता, विज्ञ तथा बुद्धिजीवीसँग संवाद गर्न आग्रह गरे। नेपालमा लामो राजनीतिक संघर्ष र संकट व्यवस्थापनको अनुभव भएका व्यक्तिहरूको ठूलो पंक्ति रहेको भन्दै त्यसबाट सरकारले सिक्नुपर्ने उनको भनाइ थियो।

‘उनीहरूको अनुभव लिन, उनीहरूसँग सहकार्य गर्न, उनीहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई के ले रोकेको होला ?’ प्रचण्डले प्रश्न गरे।

आफूसँग पनि भ्रष्टाचारविरुद्धको अभियान र सरकार सञ्चालनको अनुभवबारे छलफल गर्न प्रधानमन्त्रीलाई आग्रह गर्दै उनले संवादबाट प्रधानमन्त्रीको कद घट्ने नभई बढ्ने बताए। आफ्नै अहंकारका कारण प्रधानमन्त्रीले अरूसँग संवाद गर्न नचाहेको हो भने त्यो दुर्भाग्यपूर्ण हुने उनको टिप्पणी थियो।

प्रचण्डले प्रधानमन्त्रीका कतिपय अभिव्यक्तिप्रति संसद्मा प्रश्न उठेमा प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने लोकतान्त्रिक परम्परा रहेको बताए। प्रतिपक्षसँग संवाद गर्नु वा सदनमा जवाफ दिनु कमजोरी नभएको उनको भनाइ थियो।

उनले रास्वपाले पाएको ठूलो जनमतलाई दम्भका रूपमा प्रयोग नगर्न पनि चेतावनी दिए। दुई तिहाइको बहुमतले सरकारलाई बलियो बनाउने भए पनि त्यही बहुमतका कारण प्रतिपक्ष र असहमत आवाजलाई बेवास्ता गर्ने अधिकार नदिने उनले बताए।

प्रचण्डले अन्ततः सरकारको सफलता वा असफलता प्रधानमन्त्री र सत्तारूढ दलकै कार्यशैलीमा निर्भर रहेको बताए। सरकार संवाद, सहकार्य र समावेशी राजनीतिबाट टाढिँदै गए त्यसको असर सरकारमा मात्र नभई समग्र राज्य प्रणाली र लोकतन्त्रमा पर्न सक्ने उनको चेतावनी थियो।

‘देशलाई कता लैजाने तपाईंहरूको हातमा छ,’ प्रचण्डले भने, ‘सरकार सफल हुने कि असफल हुने भन्ने कुरा जनताले हेरिरहेका छन्।’

 

पूर्णपाठ

सम्माननीय सभामुख महोदय,

लामो समय म सदनमा उपस्थित हुन सकिनँ। केही समय स्वास्थ्यमा आएको सामान्य समस्या र केही समय विदेश भ्रमणका कारण यस्तो हुन पुग्यो। संसद्मा मेरो अनुपस्थितिसम्बन्धी प्रकाशित सूचनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। आगामी दिनमा यस्तो हुनेछैन भन्ने कुरा म यस सम्मानित सदनमा आत्मसात् गर्न चाहन्छु।

म यहाँ लामो वक्तव्य दिने उद्देश्यले आएको त होइन, तर देशमा पछिल्लो समय घटेका घटनाक्रम र सदनमा चलिरहेका बहसका सन्दर्भमा केही गम्भीर विषयमा ध्यानाकर्षण गराउन आवश्यक ठानेर उपस्थित भएको छु।

अन्य माननीय सदस्यहरूले जस्तै म पनि सुनसरीको कप्तानगञ्जमा बोलबम धार्मिक यात्राका क्रममा उत्पन्न विवाद चर्किएर भएको दुःखद घटनाप्रति गम्भीर छु। यसले कतै ठुलो साम्प्रदायिक विद्वेषको रूप लिने त होइन भन्ने चिन्ता सर्वत्र छाएको छ।

म उक्त घटनामा ज्यान गुमाउने ओमप्रकाश मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। यस समग्र घटनामा सुरक्षा निकायको भूमिका कस्तो रह्यो? के त्यहाँ त्यो स्तरको गोली चलाउनैपर्ने अवस्था थियो वा थिएन? समस्या समाधानका अन्य विकल्पमा कति पहल गरियो? यी सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपिल गर्दछु।

अहिले देशको समग्र राजनीतिक परिस्थिति त्यति सहज छैन। सदनमा हामीले पक्कै पनि तर्क-वितर्क गरेका छौँ, आ-आफ्ना मत राखेका छौँ, यो स्वाभाविक हो। तर, गत निर्वाचनमा जनताले जसरी आफ्नो अभिमत प्रकट गरेका थिए, यसबिचमा सरकारका क्रियाकलापले जनताको त्यो अपेक्षालाई सम्बोधन गर्न सकेका छैनन्। बरु, दिन-प्रतिदिन परिस्थिति अझ असहज हुने हो कि भन्ने चिन्ता बढेको छ।

हाम्रो त्यो परम्परालाई स्मरण गर्दै देखापर्न खोजेका समस्यालाई संवाद र सहकार्यबाटै समाधान गर्न म आग्रह गर्दछु।
सुनसरी, मोरङलगायतका स्थानमा देखिएको परिस्थितिका सन्दर्भमा म यो सम्मानित सदनमार्फत आम नेपाली जनतालाई अपिल गर्न चाहन्छु– हाम्रो ऐतिहासिक विरासत र परम्परा भनेकै सामाजिक सद्भाव कायम राख्नु र राष्ट्रिय एकताप्रति समर्पित हुनु हो। जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि संवाद र सहकार्यमार्फत जतिसुकै ठुलो द्वन्द्वलाई पनि समाधानको बाटोमा लैजान सक्ने हाम्रो गौरवशाली संस्कृति छ।

त्यसैले, हाम्रो त्यो परम्परालाई स्मरण गर्दै देखापर्न खोजेका समस्यालाई संवाद र सहकार्यबाटै समाधान गर्न म आग्रह गर्दछु। साथै, आम जनताको एकतामाथि घुसपैठ गरी परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्ति र शक्तिलाई एकजुट भएर परास्त गर्न पनि म अपिल गर्दछु।

हिजो मात्रै ढिलै गरी भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभयो। त्यसका लागि हामी सबैले उहाँ र उहाँको पार्टीलाई धन्यवाद दियौँ। तर, हामीले त्यहाँ एउटा गम्भीर चिन्ता पनि व्यक्त गर्‍यौँ।

यस्तो असहज परिस्थितिमा संविधानतः, कानुनतः र व्यवहारतः सबैभन्दा बढी नेतृत्वदायी भूमिका प्रधानमन्त्रीले नै खेल्नुपर्ने हुन्थ्यो। यस्तो संवेदनशील र महत्त्वपूर्ण बैठकमा प्रधानमन्त्री र विभागीय मन्त्रीका रूपमा रिपोर्टिङ गर्नुपर्ने गृहमन्त्रीकै अनुपस्थिति हुनु हामी सबैका निम्ति चिन्ताको विषय हो।

तैपनि, सरकारको नेतृत्व गर्ने पार्टीको तर्फबाट हिजो जुन पहल भयो, त्यसलाई हामीले सकारात्मक रूपमै लिएका छौँ। हामी सबैले सामूहिक रूपमा सामाजिक सद्भाव कायम गर्न र हाम्रो गौरवशाली परम्परालाई अगाडि बढाउन अपिल गरेका छौँ।

मैले त्यतिबेला पनि भनेको थिएँ– देशमा भएको निकै ठुलो जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउने क्रममा हामीले संवाद र सहकार्यलाई नै अन्तिम उपायका रूपमा प्रयोग गर्‍यौँ। त्यसबाट हामीले नेपालमा मात्र होइन, विश्वसामु नै एउटा ऐतिहासिक उदाहरण प्रस्तुत गर्‍यौँ। हाम्रो सफल शान्ति प्रक्रिया एउटा परिवर्तनकारी शक्तिका रूपमा स्थापित भएको छ, जसमा हामी सबैले गौरव गर्नुपर्छ।

त्यसपछिका घटनाक्रममा पनि देशमा जतिबेला गम्भीर राजनीतिक सङ्कट देखा परे, ती गाँठो फुकाउन सत्तापक्ष र प्रतिपक्षले जहिले पनि संवाद र सहकार्यकै बाटो रोजेका छन्। म आज यस सम्मानित सदनमा स्मरण गराउन चाहन्छु– संविधान निर्माणका बेला देखा परेका सङ्कट हुन् वा तराई-मधेस, पहाड र हिमालमा चर्किन खोजेको द्वन्द्वको स्थिति होस्, हामीले सहकार्यबाटै निकास निकालेका हौँ।

म दोस्रोपटक प्रधानमन्त्री हुँदा मधेसका जनताका उचित माग र चिन्तालाई सम्बोधन गर्न पटकपटक संविधान संशोधनका प्रस्ताव सदनमा लगेर उहाँहरूको विश्वास नजितेको भए सायद संविधान निर्माणको प्रक्रिया अगाडि नबढ्न सक्थ्यो। त्यसो नभएको भए, आज यो सदनमा रास्वपा झण्डै दुई तिहाइ नजिकको जनमतसहित आउने अवस्था नआउन सक्थ्यो वा यहाँ रहेका विभिन्न जाति, भाषा, धर्म र समुदायको प्रतिनिधित्व नहुन पनि सक्थ्यो। म यो तथ्यप्रति यहाँहरूको ध्यानाकर्षण गराउन चाहन्छु।

सदनको रोस्ट्रमबाट होस् या जनताको बिचमा, मैले सधैँ भन्ने गरेको छु, संसद्मा सङ्ख्या अस्थायी कुरा हो।
हामी सबैलाई थाहा छ, नेपालमा महाविनाशकारी भूकम्प जाँदा म प्रमुख प्रतिपक्षी दलको नेता थिएँ र नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो। एकातिर संविधान बन्छ कि बन्दैन भन्ने चिन्ता थियो भने अर्कोतिर भूकम्पको महाविनाश र जनधनको क्षतिको गहिरो पीडा थियो।

त्यतिबेला मैले यही रोस्ट्रममा उभिएर प्रधानमन्त्रीलाई भनेको थिएँ, ‘तपाईँ सत्तापक्ष र प्रधानमन्त्री हुनुहुन्छ, म प्रतिपक्षी दलको नेता हुँ। तर आजबाट म प्रतिपक्षी दलको नेताका रूपमा होइन, राष्ट्रमा आएको गम्भीर सङ्कट समाधानका लागि तपाईँको सरकारको सहयोगीका रूपमा भूमिका खेल्नेछु।’

त्यसपछि नै संविधान निर्माण र भूकम्पपीडितको उद्धार तथा राहतको कामले गति लिएको थियो। हामी एउटै सवारीसाधनमा चढेर जनताको पीडामा मलमपट्टी लगाउन धेरै ठाउँ पुगेका थियौँ। त्यसैगरी, ठुला बाढीपहिरोका बेला पनि शान्ति प्रक्रिया र गणतन्त्रको नेतृत्वकर्ताका हैसियतले मैले राष्ट्रिय एकता सुदृढ गर्न संवाद र सहकार्यको पहल गरेको थिएँ।

मैले यो कुरा किन भनिरहेको छु भने, सदनको रोस्ट्रमबाट होस् या जनताको बिचमा, मैले सधैँ भन्ने गरेको छु, संसद्मा सङ्ख्या अस्थायी कुरा हो। मुख्य कुरा राष्ट्रप्रतिको जिम्मेवारी, लोकतन्त्रप्रतिको निष्ठा र प्राप्त उपलब्धिको रक्षाप्रतिको हाम्रो गम्भीरता हो। त्यसले जनतामा एउटा विश्वास दिलाउन सक्छ।

उहाँलाई केले रोक्यो? आफ्नै अहङ्कारले हो कि? म आफैँ पर्याप्त छु, ‘मलाई कोही चाहिँदैन’ भन्ने सोचले हो कि? यदि त्यसो हो भने त्यो दुर्भाग्यपूर्ण हो।

पक्कै पनि जनतामा प्रश्नहरू छन्, निराशा पनि छन्, असन्तुष्टि पनि छन्। तर, जनतालाई उत्साहित र आशावादी बनाउँदै अगाडि बढ्न उत्प्रेरित गर्ने मुख्य जिम्मेवारी राजनीतिक नेतृत्व र यस सदनमा प्रतिनिधित्व गर्ने हामी सबै माननीय सदस्यहरूको हो। हामी सबै त्यही दिशामा लागौँ।

मलाई थाहा छैन यस्तो किन भइरहेको छ। म यो रोस्ट्रमबाट खासगरी प्रधानमन्त्री बालेन शाहज्यूलाई भन्न चाहन्छु– नेपालमा विगतका धेरै अनुभवबाट गुज्रेका नेता, बुद्धिजीवी र विज्ञहरूको एउटा विशाल पङ्क्ति छ। ठुलठुला अप्ठ्यारा परिस्थितिलाई निकास दिन सक्ने, सुशासन, सामाजिक न्याय र समृद्धिका लागि लड्ने अनि लोकतन्त्रका लागि ७० वर्षदेखि जेलनेल र यातना भोगेका नेताहरूको पङ्क्ति छ। उहाँहरूको अनुभव लिन, उहाँहरूसँग संवाद र सहकार्य गर्न प्रधानमन्त्रीलाई केले रोक्यो होला? मलाई अनौठो लाग्छ।

म प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहन्छु– उहाँले मलाई नै बोलाएर ‘तपाईँले पनि भ्रष्टाचारविरुद्ध लड्छु भनेर सुरु त गर्नुभएको थियो, तर तपाईँलाई केले सफल हुन दिएन? भनेर सोधेको भए पनि हुन्थ्यो। उहाँलाई केले रोक्यो? आफ्नै अहङ्कारले हो कि? म आफैँ पर्याप्त छु, ‘मलाई कोही चाहिँदैन’ भन्ने सोचले हो कि? यदि त्यसो हो भने त्यो दुर्भाग्यपूर्ण हो।

चाहे नेपाली कांग्रेसमा होस् या नेकपा एमाले वा अन्य दलमा, थुप्रै संघर्षका अनुभव छन् जुन सरकारका लागि ठुलो सहयोगी हुन सक्छन्। त्यो अनुभव लिन कन्जुस्याइँ गर्नुपर्ने कारण के छ? जति उदार मनले काम गर्न सक्यो, त्यति नै देश, जनता र स्वयम् सरकारकै हित हुनेछ। तपाईँहरू जति संवादबाट भाग्नुहुन्छ, प्रतिपक्षलाई जति अवमूल्यन वा अपमानित गर्नुहुन्छ र जनताको एउटा वर्गलाई बेवास्ता गर्नुहुन्छ, त्यति नै राष्ट्र, जनता र तपाईँहरू स्वयम् अप्ठ्यारोमा पर्नुहुनेछ।

दुनियाँमा अप्ठ्यारो पर्दा मानिसहरूले ज्यान फाल्ने गरेका थुप्रै उदाहरण छन्। दोस्रो विश्वयुद्धमा पराजय निश्चित भएपछि हिटलरले पहिला आफ्नी प्रेमिकालाई र पछि आफैँलाई गोली हानेर आत्महत्या गरेको घटना हामीले पढेका छौँ। मानिसले आफ्नो जीवनको औचित्य समाप्त भयो भन्ने ठान्यो भने उसले मृत्युवरण गर्न पाउँछ कि पाउँदैन भन्ने विषयमा युरोपमा अहिले पनि ठुलो बहस चलिरहेको छ।

नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्दै सुशासन र समृद्धिको आकाङ्क्षा पूरा गर्न हामीले एकताबद्ध पहल गर्न जरुरी छ।
मेरो तात्पर्य के मात्र हो भने, यी दृष्टान्तले मानिसलाई आत्महत्या वा आत्मदाहतिर दुरुत्साहन गर्ने काम गरिनु हुँदैन। त्यो अमानवीय हुन्छ र मानव जातिको विकास तथा समाजको हितविपरीत हुन्छ। तर, सरकारले यसका पछाडिका कारण के हुन् भनेर गहिरो खोजीनिती गर्न र यस्ता घटना दोहोरिन नदिन के उपाय अपनाउने भन्ने कुराको खोजी गर्न भने बिल्कुल छोड्नु हुँदैन।

अहिले जताततै हत्या, हिंसा, बलात्कार, आत्मदाह र आत्महत्याका घटना दिनप्रतिदिन बढिरहेका छन्। हामी कसैले पनि निराशामा रहेका मानिसलाई ‘अब हल आत्महत्या नै हो कि’ भन्ने जस्तो सन्देश जाने गरी बोल्न वा लेख्न हुँदैन। किनभने जीवन एउटा संघर्ष हो, र जीवन रहेसम्म निरन्तर संघर्ष गरिरहने भावनालाई हामी सबैले प्रोत्साहित गर्नुपर्छ। तर, जुन दरमा घटनाहरू बढिरहेका छन्, त्यसले सर्वत्र चिन्ता पैदा गरेको छ। यस्तो अवस्थामा हामी कसैले पनि बहुमतको दम्भ देखाउनु हुँदैन।

नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्दै सुशासन र समृद्धिको आकाङ्क्षा पूरा गर्न हामीले एकताबद्ध पहल गर्न जरुरी छ। म राष्ट्रिय स्वतन्त्र पार्टीलगायत सबै माननीय सदस्यहरूलाई विशेष अपिल गर्न चाहन्छु– तपाईँहरू सबैले गम्भीर ढङ्गले यो विषयलाई लिँदा देशले एउटा गति समात्नेछ। हिजो सर्वदलीय बैठकमा हामी सबैले साम्प्रदायिक विद्वेष नफैलियोस् र सामाजिक सद्भाव कमजोर नहोस् भनेर जुन भावना व्यक्त गरेका छौँ, त्यसमा इमानदार र गम्भीर हुन म विशेष अनुरोध गर्दछु।

यहाँ केही यस्ता कुरा पनि उठेका छन्, जसलाई सम्बोधन नगर्दा भ्रम पर्न सक्छ। मलाई धेरैपटक राष्ट्रियताको विषयमा प्रश्न सोधिएको छ– तपाईँ आफैँ प्रधानमन्त्री हुँदा किन चुप लाग्नुभयो, अहिले किन बोल्नुहुन्छ?

म यो विषयमा बिल्कुल स्पष्ट छु। नेपालको एक इन्च जमिन पनि कसैलाई मिच्न दिनु हुँदैन र नेपालले पनि अरूको एक इन्च जमिन मिच्नु हुँदैन भन्ने मेरो प्रस्ट मान्यता छ। म प्रधानमन्त्री हुँदा भारतका प्रधानमन्त्रीसँग हाम्रा सीमा समस्या समाधान हुनुपर्छ र ईपीजीको प्रतिवेदन बुझ्नुपर्छ भनेर प्रस्ट कुरा राखेको थिएँ। यो कुरा मैले लुकाएको छैन, सार्वजनिक रूपमै भनेको छु। त्यसैले राष्ट्रियताको सवालमा कसैले मलाई सिकाइरहनुपर्छ जस्तो लाग्दैन। मेरो सम्पूर्ण जीवन नै राष्ट्रिय स्वाधीनता र जनताको मुक्तिका निम्ति समर्पित छ र रहिरहनेछ।

अन्त्यमा, म फेरि पनि भन्न चाहन्छु– वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरोस्। सुशासन, सामाजिक न्याय र समृद्धिको दिशामा अगाडि बढोस्। हाम्रा आफ्ना मतभेद हुन सक्छन्, तर राष्ट्र र जनताको हितमा हामी सबै एक छौँ। यदि यो सरकारले राम्रो काम गर्छ भने हाम्रो पूर्ण समर्थन रहनेछ, तर जनताको हितविपरीत जान्छ भने हामी चुप लागेर बस्नेछैनौँ। हाम्रो खबरदारी निरन्तर रहनेछ।

मलाई यो महत्त्वपूर्ण समय दिनुभएकोमा सम्माननीय सभामुख महोदयलाई पुनः धन्यवाद दिँदै मेरा भनाइ यहीँ टुङ्ग्याउँछु। धन्यवाद !

मधेस प्रदेशका सांसदहरुसँग रवि लामिछानेको छलफल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी घटनापछि मधेश प्रदेशमा विकसित सुरक्षा अवस्थाबारे पार्टीका सांसदहरूसँग छलफल गरेका छन्।

सुनसरीबाट सुरु भएको तनाव मधेशका विभिन्न जिल्लामा समेत फैलिन थालेपछि सभापति लामिछानेले बिहीबार मधेश प्रदेशबाट निर्वाचित करिब २० जना रास्वपा सांसदसँग भेटवार्ता गरेका हुन्। छलफलमा तराई–मधेशमा सामाजिक सद्भाव कायम राख्ने, सुरक्षा अवस्था सुदृढ बनाउने तथा सम्भावित तनाव नियन्त्रणका उपायबारे कुराकानी भएको उनको सचिवालयले जनाएको छ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा सांसद मनिष झाले मधेशको सुरक्षा अवस्थाप्रति पार्टीले गम्भीर चासो व्यक्त गरेको बताए। उनले सङ्घीय सरकार र सम्बन्धित निकायले आवश्यक संवेदनशीलता देखाउन नसकेको भन्दै त्यसबारे सभापति लामिछानेलाई जानकारी गराइएको बताए।

‘सुरक्षा संवेदनशीलताको अवस्थामा मधेश छ। मधेशलाई जसरी हेरिनुपर्ने हो, सङ्घीय सरकार वा सिंहदरबारको तर्फबाट त्यो स्तरको संवेदनशीलता देखिएको छैन भन्ने हाम्रो निष्कर्ष छ,’ झाले भने।

उनले जनकपुरधामको अवस्था पनि सामान्य नरहेको उल्लेख गर्दै बजार बन्द, चोक–चोकमा टायर बालेर भइरहेको प्रदर्शनजस्ता घटनाले स्थानीय जनजीवन प्रभावित भएको बताए।

‘सबै पसल बन्द छन्, बजार ठप्प छ। विभिन्न चोकमा टायर बालेर प्रदर्शन भइरहेको छ। यस्तो अवस्था कुनै पनि निर्वाचित जनप्रतिनिधिका लागि सुखद होइन,’ उनले भने।

सांसद झाले पछिल्ला घटनाक्रमले राज्यको सक्रियता र तत्परतामा कमी देखिएको महसुस भएको बताउँदै सामाजिक सद्भाव कायम राख्न सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।

राष्ट्रिय सुरक्षा परिषदको बैठकले के गर्यो निर्णय?

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक सम्पन्न भएको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकले सुनसरी घटनासहित राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा अवस्थाबारे समीक्षा गरेको छ।

बैठकपछि परिषद्का सदस्य-सचिव तथा रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले सुनसरीमा भएको घटनाको विश्लेषण गर्दै यस्ता घटना भविष्यमा दोहोरिन नदिन सम्बन्धित सबै निकायलाई सक्रिय र समन्वयात्मक रूपमा काम गर्न निर्देशन दिने निर्णय भएको जानकारी दिए।

उनका अनुसार केन्द्र, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय गर्दै सम्भावित सुरक्षा चुनौतीलाई समयमै पहिचान गरी रोकथामका लागि सक्रिय रूपमा काम गर्ने निर्णय बैठकले गरेको छ।

बैठकले राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा अवस्थाको समग्र समीक्षा गर्दै शान्ति–सुरक्षा सुदृढ पार्ने विषयमा पनि छलफल गरेको सचिव शर्माले बताए।

त्यसैगरी, विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने विषयमा पनि बैठकले आवश्यक निर्णय गरेको छ। खोज, उद्धार र राहतका कामलाई थप व्यवस्थित, छिटोछरितो र प्रभावकारी बनाउँदै विपद्को समयमा नागरिकलाई समयमै सेवा-सुविधा उपलब्ध गराउने विषयमा सम्बन्धित निकायलाई सक्रिय हुन निर्देशन दिइएको उनले जानकारी दिए।

जनकपुरमा कर्फ्यु

जनकपुरधाम। दुई समुदायबीचको तनाव बढेपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको सहरी भागमा कर्फ्यु आदेश जारी गरिएको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार बिहीबार दिउँसो साढे ३ बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी गरिएको हो।

पछिल्लो घटनाक्रमका कारण सम्भावित झडप तथा अप्रिय घटना रोक्न प्रशासनले कर्फ्यु लगाएको जनाएको छ।

तनाव बढेसँगै जनकपुरको संवेदनशील क्षेत्रमा सुरक्षा उपस्थिति पनि बढाइएको छ। प्रशासनले शान्ति–सुरक्षा कायम राख्न स्थानीयलाई संयमित रहन र प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ।

बालेनको ‘एक्लै चल्ने’ शैलीले देश कहाँ पुग्ला ?

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्री शाहले प्रतिपक्षी दल तथा अनुभवी नेताहरूसँग संवाद नगर्ने शैली अपनाएको भन्दै त्यसले मुलुकलाई थप जटिलतातर्फ धकेल्न सक्ने चेतावनी दिए ।

प्रचण्डले प्रधानमन्त्रीको मौनता र एकल निर्णय गर्ने प्रवृत्तिलाई लोकतान्त्रिक अभ्याससँग जोडेर प्रश्न गरेका हुन् । उनका अनुसार सरकारसँग ठूलो जनमत भए पनि त्यसको अर्थ संसद्, प्रतिपक्ष र राजनीतिक नेतृत्वसँग संवादको आवश्यकता समाप्त हुनु होइन ।

उनले प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित भएर पछिल्ला घटनाक्रमबारे जवाफ दिन आग्रह गरे । प्रधानमन्त्री संसद्मा आएर आफ्नो धारणा राख्दा उनको राजनीतिक उचाइ घट्ने नभई बढ्ने प्रचण्डको तर्क थियो । त्यसका लागि सभामुख डीपी अर्यालले समेत पहल गर्नुपर्ने उनले बताए ।

प्रचण्डले अहिलेको राजनीतिक परिस्थितिमा संवादलाई विकल्पहीन उपायका रूपमा प्रस्तुत गरे । नेपालमा लामो राजनीतिक संघर्ष र संकटको अनुभव बोकेका नेता, बुद्धिजीवी तथा विज्ञहरूको ठूलो पंक्ति रहेको भन्दै उनले त्यस्ता व्यक्तिसँग परामर्श लिन प्रधानमन्त्री शाहलाई आग्रह गरे ।

उनले आफूलाई समेत बोलाएर छलफल गर्न सकिने बताए । विगतमा भ्रष्टाचारविरुद्ध अभियान चलाएको अनुभव आफूले प्रधानमन्त्रीसँग बाँड्न सक्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री शाहको कार्यशैलीप्रति टिप्पणी गर्दै प्रचण्डले उनको आत्मविश्वास अहंकारमा परिणत हुन नहुने संकेत गरे । ‘म नै पर्याप्त छु’ भन्ने मानसिकताले सरकार सञ्चालन गर्दा त्यसको असर प्रधानमन्त्रीमा मात्र नभई सिंगो मुलुकमा पर्न सक्ने उनको चेतावनी थियो ।

रास्वपा सभापति रवि लामिछानेले अघि बढाएको संवाद र सहकार्यको प्रयासको भने प्रचण्डले स्वागत गरे । उनले सरकार र प्रतिपक्षबीचको दूरी घटाउन संवादको वातावरण बनाउनुपर्ने बताए ।

प्रचण्डको पछिल्लो अभिव्यक्तिको मूल सन्देश सत्ता कसले चलाइरहेको छ भन्नेभन्दा पनि सत्ता कसरी चलाइँदैछ भन्ने प्रश्नमा केन्द्रित देखिन्छ । ठूलो बहुमत र जनसमर्थन सरकारका लागि बलियो आधार भए पनि लोकतान्त्रिक शासनमा त्यससँगै जवाफदेहिता, संवाद र संसद्प्रतिको उत्तरदायित्व पनि उत्तिकै आवश्यक हुने उनको तर्क छ ।

सुनसरी घटनामा घाइते अर्का युवकको मृत्यु, मृतकको संख्या २ पुग्यो

काठमाडौं। सुनसरीको देवानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत देवानगञ्ज गाउँपालिका–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको हो।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार चिकित्सकले मेहतालाई दिउँसो १ः२४ बजे मृत घोषणा गरेका थिए।

घटनामा गोली लागेर घाइते भएका अन्य आठ जनाको विराटनगरका न्यूरो अस्पताल, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

यस घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका थिए। गोली लागेर यसअघि देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।

प्रचण्डको रास्वपालाई चेतावनी : ‘दुई तिहाइको दम्भ नपाल्नुस्’

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दुई तिहाइ बहुमतको दम्भ नपाल्न चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले सरकारप्रति जनतामा असन्तुष्टि बढ्दै गएको दाबी गरे। उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई प्रतिपक्षी दलहरूसँग संवादमा आउन आग्रह गरे।

प्रतिपक्षसँग संवाद गर्दैमा प्रधानमन्त्रीको कद सानो नहुने भन्दै प्रचण्डले सरकारलाई राजनीतिक अनुभव भएका नेता, विज्ञ तथा विभिन्न क्षेत्रका व्यक्तिसँग छलफल गर्न सुझाव दिए।

‘उनीहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई के ले रोकेको होला ? मलाई अनौठो लाग्छ,’ प्रचण्डले भने।

नेपालको राजनीतिक इतिहासमा लामो समय संघर्ष गरेका तथा जटिल परिस्थितिमा निकास दिन सक्ने क्षमता भएका नेताहरूको अनुभव सरकारका लागि उपयोगी हुन सक्ने उनको भनाइ थियो।

प्रचण्डले प्रधानमन्त्री शाहले आफूसँग समेत संवाद गरेर विगतमा भ्रष्टाचारविरुद्ध अघि बढ्ने क्रममा देखिएका समस्या र अवरोधबारे छलफल गर्न सक्ने बताए।

‘उहाँले मलाई बोलाएर एकचोटी तपाईंले पनि भ्रष्टाचारको विरुद्ध लड्छु भनेर सुरु त गर्नुभएको थियो। के ले तपाईंलाई सफल हुन दिएन ? भनेर सोधे पनि त हुन्थ्यो,’ उनले भने।

प्रधानमन्त्रीलाई संवादबाट रोक्ने कारण अहंकार वा आफू मात्र पर्याप्त छु भन्ने सोच हुनसक्ने भन्दै प्रचण्डले त्यस्तो अवस्था भए दुर्भाग्यपूर्ण हुने टिप्पणी गरे।

‘आफ्नै अहंकारले रोक्या हो कि ? म पर्याप्त छु, अब मलाई कोही चाहिँदैन भन्ने खालको हो कि ? यदि त्यसो हो भने त्यो दुर्भाग्यपूर्ण हो,’ उनले भने।

अमेरिकी आक्रमणको चपेटामा दर्जनौँ इरानी सहर

काठमाडौं। अमेरिकाले बिहीबार इरानका एक दर्जनभन्दा बढी सहर तथा क्षेत्रमा हवाई आक्रमण गरेको छ ।

इरानी सञ्चारमाध्यमका अनुसार केश्म, किश, काजेरुन, अहवाज, अबादान, शादेगान, अरवन्दकेनार, बुशेहर, जाम र खोरमोजलगायतका क्षेत्रमा अमेरिकी आक्रमण भएको हो । पछिल्लो आक्रमणमा इरानका विभिन्न सैन्य संरचना तथा रणनीतिक क्षेत्रलाई लक्षित गरिएको बताइएको छ ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकोम)ले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)सँग सम्बन्धित दर्जनौँ सैन्य अखडामा आक्रमण गरिएको जनाएको छ । सेन्टकोमका अनुसार कमाण्ड सेन्टर, मिसाइल तथा ड्रोनसम्बन्धी सुविधा, तटीय निगरानी तथा रक्षा केन्द्र र समुद्री सैन्य संरचनालाई आक्रमणको निशाना बनाइएको थियो । अमेरिकी सेनाले इरानविरुद्धको पछिल्लो सैन्य कारबाही सम्पन्न भएको समेत जनाएको छ ।

सेन्टकोमले सामाजिक सञ्जाल एक्समार्फत भारतीय समयअनुसार बिहीबार बिहान ५ः३० बजे इरानविरुद्ध सैन्य कारबाही सुरु गरिएको जानकारी दिएको थियो । अमेरिकी सेनाका अनुसार मध्यपूर्वमा तैनाथ अमेरिकी सैनिक तथा सैन्य अड्डामाथि एक दिनअघि भएको आक्रमण प्रयासको जवाफस्वरूप पछिल्लो कारबाही गरिएको हो । अमेरिकाले आफ्नो सैनिक, व्यापारिक जहाज र खाडी क्षेत्रका साझेदार मुलुकमाथि रहेको सुरक्षा जोखिम घटाउनु कारबाहीको मुख्य उद्देश्य रहेको बताएको छ ।

आक्रमणअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी इरानले मिसाइल आक्रमणको प्रयास गरेको दाबी गरेका थिए । उनले इरानबाट आक्रमणको प्रयास भएको भन्दै अब अमेरिकाको पालो आएको बताएका थिए । त्यसपछि अमेरिकी सेनाले इरानका विभिन्न सैन्य संरचनामाथि व्यापक हवाई आक्रमण गरेको हो ।

अमेरिकी आक्रमणको मानवीय प्रभावसमेत देखिएको छ । इरानको केश्म द्वीपमा रहेको एउटा आवासीय भवनमा भएको आक्रमणमा एक दम्पती र उनीहरूका दुई वर्षीय बालकको मृत्यु भएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । फार्स समाचार एजेन्सीका अनुसार उक्त घटनामा परिवारका सात र नौ वर्ष उमेरका अन्य दुई बालबालिका घाइते भएका छन् । उनीहरूको अस्पतालमा उपचार भइरहेको बताइएको छ । अमेरिकी सेनाले भने आफ्नो आक्रमण सैन्य संरचनालाई लक्षित गरिएको दाबी गरेको छ ।

पछिल्लो अमेरिकी कारबाहीले इरानको दक्षिणी भूभागमा रहेका विभिन्न क्षेत्र प्रभावित भएका छन् । केश्म र किश द्वीपसहित काजेरुन, अहवाज, अबादान, शादेगान, अरवन्दकेनार, बुशेहर, जाम र खोरमोजमा विस्फोट तथा आक्रमणका घटना भएको इरानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यीमध्ये केही क्षेत्र इरानको ऊर्जा, समुद्री गतिविधि तथा सैन्य संरचनाका दृष्टिले महत्वपूर्ण मानिन्छन् ।

सेन्टकोमका अनुसार आक्रमणमा आईआरजीसीका कमाण्ड तथा नियन्त्रण केन्द्र, मिसाइल र ड्रोन सुविधा, तटीय निगरानी तथा रक्षा केन्द्र र समुद्री सैन्य क्षमतासँग सम्बन्धित संरचना लक्षित गरिएका थिए । अमेरिकी सेनाले यस्ता संरचनालाई निष्क्रिय वा कमजोर बनाउँदा इरानबाट अमेरिकी सेना, व्यापारिक जहाज तथा खाडी क्षेत्रका साझेदार मुलुकमाथि हुन सक्ने सुरक्षा जोखिम घट्ने दाबी गरेको छ ।

मध्यपूर्व मामिलाका विज्ञहरूका अनुसार पछिल्लो अमेरिकी आक्रमणलाई इरानको सम्पूर्ण सैन्य क्षमता ध्वस्त पार्ने अभियानका रूपमा तत्काल व्याख्या गर्न कठिन छ । अमेरिकाको प्राथमिक उद्देश्य इरानमाथि सैन्य तथा मनोवैज्ञानिक दबाब सिर्जना गर्नु र उसको मिसाइल, ड्रोन तथा समुद्री सैन्य गतिविधिलाई कमजोर बनाउनु हुन सक्ने विश्लेषण गरिएको छ । लगातार हवाई आक्रमणमार्फत इरानलाई आफ्नो सैन्य गतिविधि सीमित गर्न दबाब दिने अमेरिकी रणनीति हुन सक्ने विज्ञहरूको भनाइ छ ।

विशेषगरी होर्मुज जलडमरूमध्यमा इरानको प्रभाव कमजोर पार्नु अमेरिकाका लागि महत्वपूर्ण रणनीतिक उद्देश्य हुन सक्ने देखिन्छ । विश्वको महत्वपूर्ण व्यापारिक तथा ऊर्जा आपूर्ति मार्गमध्ये एक रहेको होर्मुज क्षेत्रमा तनाव बढ्दा त्यसको प्रभाव मध्यपूर्वमा मात्र सीमित रहँदैन । इरानले यस क्षेत्रमा आफ्नो सैन्य क्षमता प्रयोग गरेर समुद्री आवागमनमा अवरोध सिर्जना गरेमा अन्तर्राष्ट्रिय ऊर्जा बजार, व्यापारिक जहाज र क्षेत्रीय सुरक्षामा समेत असर पर्न सक्छ ।

तर, केही चरणको हवाई आक्रमणबाट इरानको सैन्य क्षमता पूर्णरूपमा ध्वस्त पार्न कठिन हुने विश्लेषण पनि भइरहेको छ । इरानले आफ्ना मिसाइल, ड्रोन तथा अन्य सैन्य संरचनालाई विभिन्न स्थानमा फैलाएर राखेको अवस्थामा केही निश्चित सैन्य अखडामाथि गरिने आक्रमणले उसको सम्पूर्ण सैन्य क्षमतामा निर्णायक क्षति पुर्‍याउन नसक्ने विज्ञहरूको भनाइ छ । इरानले लामो समयदेखि आफ्नो सैन्य संरचनालाई विकेन्द्रित बनाउँदै आएको कारण अमेरिकी आक्रमणपछि पनि उसका केही सैन्य क्षमता सक्रिय रहन सक्ने अनुमान गरिएको छ ।

अमेरिकाले वास्तवमै इरानको सैन्य क्षमता व्यापक रूपमा कमजोर बनाउन चाहेमा लामो समयसम्म निरन्तर र ठूलो स्तरको सैन्य अभियान सञ्चालन गर्नुपर्ने हुन सक्ने विश्लेषण गरिएको छ । त्यसका लागि मिसाइल तथा ड्रोन उत्पादन केन्द्रदेखि भण्डारणस्थल, कमाण्ड संरचना, हवाई प्रतिरक्षा प्रणाली, तटीय रक्षा र समुद्री सैन्य क्षमतासम्म व्यापक रूपमा लक्षित गर्नुपर्ने हुन्छ । हालको आक्रमण मुख्यतः निश्चित सैन्य संरचनामा दबाब बढाउने प्रकृतिको देखिएको विश्लेषण गरिएको छ ।

पछिल्लो अमेरिकी आक्रमणले केही समययता जारी अमेरिका–इरान तनावलाई थप गहिरो बनाएको छ । अमेरिकी पक्षले यसलाई इरानबाट अमेरिकी सेना र सैन्य अड्डामाथि भएको आक्रमण प्रयासको जवाफ भनेको छ भने इरानले अमेरिकी सैन्य कारबाहीलाई आफ्नो सार्वभौमिकतामाथिको आक्रमणका रूपमा लिने सम्भावना छ । यस्तो अवस्थामा इरानले गर्ने सम्भावित प्रत्याक्रमणले संघर्षको आगामी दिशा निर्धारण गर्नेछ ।

विशेषगरी खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा, अमेरिकी सहयोगी मुलुक तथा व्यापारिक जहाजमाथि इरानले कुनै प्रतिक्रिया जनाएमा संघर्ष थप फैलिन सक्ने जोखिम छ । त्यसैगरी होर्मुज जलडमरूमध्यमा सैन्य तनाव बढेमा विश्वव्यापी ऊर्जा आपूर्ति र समुद्री व्यापारमा समेत असर पर्न सक्छ । त्यसैले पछिल्लो अमेरिकी आक्रमणको तत्कालीन सैन्य प्रभावभन्दा पनि त्यसपछि विकसित हुने घटनाक्रमलाई बढी महत्वपूर्ण मानिएको छ ।

अमेरिकी सेनाले आफ्नो सैन्य कारबाही सम्पन्न भएको घोषणा गरे पनि यसले अमेरिका र इरानबीचको तनाव अन्त्य भएको संकेत भने गरेको छैन । बरु पछिल्लो आक्रमणले दुई देशबीचको सैन्य टकराव फेरि तीव्र बनेको देखाएको छ । अब इरानले अमेरिकी आक्रमणको कस्तो प्रतिक्रिया दिन्छ, अमेरिकाले थप सैन्य कारबाही गर्छ कि गर्दैन र होर्मुज जलडमरूमध्यको अवस्था कतातर्फ जान्छ भन्ने विषयले आगामी दिनमा मध्यपूर्वको सुरक्षा अवस्थालाई प्रभावित गर्नेछ ।

यसबीच केश्म द्वीपमा एउटै परिवारका तीन सदस्यको मृत्यु भएको घटनाले अमेरिकी आक्रमणको मानवीय मूल्य पनि उजागर गरेको छ ।

अमेरिकी पक्षले सैन्य संरचनालाई लक्षित गरिएको बताए पनि आवासीय क्षेत्रमा समेत क्षति र नागरिक हताहतीको खबर आउनुले युद्धको प्रभाव सैन्य संरचनाभन्दा बाहिरसम्म पुगेको देखाएको छ।

संसदमा प्रचण्डले के के भने?

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगञ्ज घटनालाई लिएर सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले घटनाले साम्प्रदायिक सद्भावमा असर पर्ने खतरा देखिएको भन्दै सरकारले यसको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरे।

प्रचण्डले बोलबम यात्राका क्रममा उत्पन्न विवाद हिंसात्मक घटनामा परिणत हुनु दुःखद भएको उल्लेख गर्दै सुरक्षा निकायले गोली चलाउनै पर्ने अवस्था थियो वा थिएन भन्ने विषयको वास्तविकता सार्वजनिक गर्न सरकारसँग आग्रह गरे। उनका अनुसार घटनाका सबै पक्षको विस्तृत अध्ययन गरी सत्यतथ्य बाहिर ल्याइनुपर्छ।

‘सुनसरीको कप्तानगञ्जमा बोलबमको धार्मिक यात्राका सन्दर्भमा उत्पन्न विवाद चर्किएर दुखद घटनासम्म पुग्यो, यसले कतै ठूलो साम्प्रदायिक विद्वेषको रूप लिने त होइन भन्ने चिन्ता सर्वत्र व्यक्त भइराखेको छ,’ उनले भने, ‘’त्यो स्तरको गोली चलाउनैपर्ने अवस्था थियो या थिएन ? समस्या समाधानका अन्य उपायहरू र विकल्पहरूमा के कति पहिल गरियो या गरिएन ? लगायतका सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपिल गर्न चाहन्छु।’ 

उनले मुलुकको समग्र राजनीतिक अवस्था सहज नरहेको टिप्पणी गर्दै सरकारका गतिविधिले जनताको अपेक्षा पूरा गर्न नसकेको बताए। पछिल्ला घटनाक्रमले जनतामा थप असन्तुष्टि र चिन्ता बढाएको उनको भनाइ थियो।

‘अहिले देशको समग्र राजनीतिक परिस्थिति सहज छैन । हामीले आफ्नो आफ्नो मत राखेका छौं, यो राम्रो कुरा हो ,’ प्रचण्डले भने, ‘गत निर्वाचनमा हामीले जसरी आफ्ना कुरा राख्यौं, जनताले जसरी आफ्नो अभिमत प्रकट गरे । यसबीचका सरकारका क्रियाकलापले जनताको अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन ।’ ‘बरु दिन प्रतिदिन परिस्थिति अझै असहज हुने हो कि भन्ने चिन्ता व्याप्त भएको छ। 

प्रचण्डले सुनसरी र मोरङलगायतका क्षेत्रमा देखिएको तनावलाई संवाद, सहकार्य र राष्ट्रिय एकतामार्फत समाधान गर्न सबै पक्षलाई आग्रह गरे। साथै, समाजमा विभाजन सिर्जना गर्न खोज्ने प्रवृत्तिविरुद्ध सबै राजनीतिक दल र नागरिक एकजुट हुनुपर्नेमा जोड दिए।

उनले रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएको कदमको स्वागत गरे पनि यस्ता संवेदनशील विषयमा प्रधानमन्त्री र गृहमन्त्री स्वयं अग्रसर भएर नेतृत्व गर्नुपर्ने बताए। प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिले परिस्थिति थप चिन्ताजनक बनेको उनको भनाइ थियो।

‘सुनसरी, मोरङ लगायत अन्यत्र जे परिस्थिति देखिएको छ, आम नेपाली जनतालाई अपील गर्न चहन्छु, हाम्रो गौरवशाली परम्परालाई स्मरण गर्दै, यसखालका समस्या जो देखा पर्न खोजेका छन्, तिनको पनि संवाद र सहकार्यको माध्यमबाट समाधान गर्ने र आम जनताको एकताको माध्यमबाट त्यसभित्र घूसपैठ गर्नखोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृति विचार र शक्तिलाई परास्त गर्न एकजुट हुन अपील पनि गर्न चाहन्छु,’ दाहालले भने, ‘हिजोमात्रै ढिलैगरी भए पनि रास्वपाको तर्फबाट सभापतिले सर्वदलीय बैठक आह्वान गर्नुभयो र हामी सबैले उहाँ र रास्वपालाई धन्यवाद भन्यौं र साथसाथै हामीले चिन्ता पनि व्यक्त गर्‍यौं। यस खालको असहज परिस्थितिमा सबैभन्दा बढी नेतृत्वदायी भूमिका खेल्नुपर्ने संविधानतः कानुनतः र व्यवहारतः पनि प्रधानमन्त्रीले नै हुन्थ्यो ।’  

प्रचण्डले समावेशी लोकतन्त्रसहितको संविधानलाई कमजोर पार्ने वा पुनर्लेखन गर्ने प्रयास भइरहेको हो कि भन्ने आशंका पनि व्यक्त गर्दै लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकताको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए।

‘यो संविधान जो हजारौंको बलिदानकबाट र धेरै ठूलो त्याग र तपस्याबट, लामो संघर्षबाट प्राप्त भएको समावेशी लोकतन्त्रसहितको संविधानलाइ पुनर्लेखन नै गर्न खोजिएको त होइन ? या संविधानलाई कुनै न कुनै रुपमा अझ पछि कमजोर पार्ने उदेश्यबाट अगाडि बढेको त होइन भन्ने प्रश्न आम जनतामा देखा पर्दै गएको छ,’ दाहालले भने.

 

सिरहामा अनिश्चितकालीन कर्फ्यू जारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको घटनाको विरोधमा मधेशका विभिन्न जिल्लामा प्रदर्शन फैलिन थालेपछि सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको सुरक्षा अवस्थाको विश्लेषण तथा जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा कर्फ्यू लगाइएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको आदेशअनुसार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म गोलबजार नगरपालिकाको निश्चित क्षेत्रमा आवतजावत तथा भेला हुन पूर्ण रूपमा रोक लगाइएको छ।

कर्फ्यू क्षेत्रको पूर्वमा कसाह खोला, पश्चिममा चोहर्वा चोक, उत्तरमा सैनिक चोक र दक्षिणमा राजेन्द्रप्रसाद राजकीय बहुमुखी क्याम्पस आसपासको क्षेत्र तोकिएको छ।

कर्फ्यू लागू भएसँगै गोलबजारका सडक तथा बजार क्षेत्रमा सुरक्षा तैनाथीसमेत बढाइएको छ। प्रशासनले सुरक्षा अवस्था र परिस्थितिको मूल्यांकन गर्दै आवश्यक निर्णय लिने जनाएको छ।

‘सुनसरीमा गोली चलाउनैपर्ने अवस्था थियो?’ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगञ्ज घटनामा गोली चलाउनुपर्ने अवस्था थियो कि थिएन भन्ने विषयमा गम्भीर छानबिन गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले बोलबम धार्मिक यात्राका क्रममा उत्पन्न विवाद हिंसात्मक घटनामा परिणत भएको भन्दै घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए।

उनले घटनाले साम्प्रदायिक विद्वेषको रूप लिन सक्ने चिन्ता बढेको भन्दै सुरक्षा निकायको भूमिकामाथि समेत प्रश्न उठाए।

‘सुनसरीको कप्तानगञ्जमा बोलबमको धार्मिक यात्राका सन्दर्भमा उत्पन्न विवाद चर्किएर दुःखद घटनासम्म पुग्यो। यसले कतै ठूलो साम्प्रदायिक विद्वेषको रूप लिने त होइन भन्ने चिन्ता सर्वत्र व्यक्त भइराखेको छ,’ उनले भने।

घटनाका क्रममा सुरक्षा निकायले निर्वाह गरेको भूमिका र बल प्रयोगको आवश्यकताबारे प्रचण्डले प्रश्न गरे।

‘यो घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो ? के त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो या थिएन ?’ उनले प्रश्न गरे।

प्रचण्डले घटनाको सम्पूर्ण प्रक्रियाबारे विस्तृत अध्ययन गरी वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरे। उनले घटनालाई केवल सुरक्षा चुनौतीका रूपमा नभई सामाजिक सद्भाव र साम्प्रदायिक संवेदनशीलतासँग जोडेर हेर्नुपर्नेमा समेत जोड दिए।

आईपीएलमा आरसीबीको दबदबा

काठमाडौं। रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को सबैभन्दा मूल्यवान् फ्रेन्चाइजका रूपमा लगातार शीर्ष स्थानमा कायम रहेको छ।

अमेरिकास्थित लगानी बैंक हुलिहान लोकीले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार आरसीबीको ब्रान्ड मूल्य ३१ करोड २० लाख अमेरिकी डलर पुगेको छ। गत वर्ष यसको ब्रान्ड मूल्य २६ करोड ९० लाख अमेरिकी डलर रहेकोमा यसपटक १६ प्रतिशतले वृद्धि भएको हो।

यससँगै आरसीबी क्रिकेट इतिहासमै ३० करोड अमेरिकी डलरभन्दा बढी ब्रान्ड मूल्य कायम गर्ने पहिलो टोली बनेको छ।

प्रतिवेदनअनुसार पछिल्लो एक वर्षमा आईपीएलको कुल व्यावसायिक मूल्य पनि बढेको छ। आईपीएलको व्यावसायिक मूल्य १८.५ अर्ब अमेरिकी डलरबाट बढेर २०.६ अर्ब अमेरिकी डलर पुगेको छ। यो एक वर्षमा ११.४ प्रतिशतको वृद्धि हो। आईपीएलले लगातार दोस्रो वर्ष दोहोरो अंकको व्यावसायिक वृद्धि हासिल गरेको प्रतिवेदनमा उल्लेख छ।

चार महिनाअघि ब्ल्याकस्टोन, बोल्ट भेन्चर्स, आदित्य बिर्ला समूह र टाइम्स अफ इन्डिया समूहको संयुक्त लगानीकर्ताले आरसीबीलाई १.७८ अर्ब अमेरिकी डलर मूल्यांकनमा खरिद गरेका थिए।

ब्रान्ड मूल्यका आधारमा मुम्बई इन्डियन्स २६ करोड ४० लाख अमेरिकी डलरसहित दोस्रो स्थानमा छ। कोलकाता नाइट राइडर्स २४ करोड ५० लाख डलरसहित तेस्रो र चेन्नई सुपर किङ्स २४ करोड ४० लाख डलरसहित चौथो स्थानमा छन्।

त्यस्तै, सनराइजर्स हैदराबाद १६ करोड ८० लाख डलरसहित पाँचौं, राजस्थान रोयल्स १६ करोड १० लाख डलरसहित छैटौं र पञ्जाब किङ्स १५ करोड ८० लाख डलरसहित सातौं स्थानमा छन्।

गुजरात टाइटन्स १५ करोड ७० लाख डलरसहित आठौं, दिल्ली क्यापिटल्स १५ करोड ६० लाख डलरसहित नवौं तथा लखनउ सुपर जायन्ट्स १२ करोड २० लाख डलरसहित दशौं स्थानमा छन्।

आरसीबीका सह–मालिक सत्यन गजवानीले टोलीको ठूलो समर्थक आधार र समर्थकसँगको भावनात्मक सम्बन्धलाई आरसीबीको प्रमुख शक्ति बताएका छन्।

पञ्जाब किङ्सका सह–मालिक नेस वाडियाले पनि आईपीएल फ्रेन्चाइजहरू अब दुई महिनाको क्रिकेट प्रतियोगितामा सीमित नभई दीर्घकालीन खेल तथा मनोरञ्जन व्यवसायका रूपमा विकसित हुँदै गएको बताएका छन्।

‘प्रधानमन्त्रीले सदनलाई उपेक्षा गरे’

काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभालाई उपेक्षा गरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै केसीले पछिल्लो सात दिनमा प्रधानमन्त्रीको संसद् उपस्थितिलाई लिएर प्रश्न उठाएका हुन्। उनका अनुसार प्रधानमन्त्री अहिलेसम्म करिब २ देखि ३ घण्टा मात्रै संसद्मा उपस्थित भएका छन्।

सांसद केसीले प्रधानमन्त्रीसँग स्पष्टीकरण माग भइरहे पनि त्यसको जवाफ नदिइएको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए।

‘स्पष्टीकरणको माग निरन्तर उठ्दा भ्रमको उपेक्षाले संसद्को चरम अपमान भएको छ,’ उनले भने, ‘अत्यधिक बहुमत र ठूलो आशा, भरोसासाथ बहुमतमा आएको सरकारको नयाँपन भनेको संसदीय प्रक्रियाबाट होइन, फेसबुक स्टाटसबाट चल्ने हो ? यो बारेमा अहिले आम जनता पनि जान्न चाहन्छन्।’

उनले मुलुकमा नागरिकप्रतिको राज्यको उपेक्षा बढ्दै गएको दाबी गरे। आत्मदाह र आत्महत्याका घटना, सुनसरीको कप्तानगञ्जमा भएको गोलीकाण्ड तथा त्यसपछि सेना परिचालनको अवस्थाले सामाजिक एकता र सद्भावमा गम्भीर चुनौती थपिएको उनको भनाइ थियो।

केसीले धर्म, सम्प्रदाय र संस्कृतिबीच कायम रहेको एकता तथा विशिष्टता जोगाउन सरकार गम्भीर हुनुपर्ने बताए।

उनले सुकुम्बासीका समस्या, लघुवित्त पीडितको अवस्था, बढ्दो महँगी तथा आर्थिक मन्दीका कारण सर्वसाधारणको जनजीवन थप कष्टकर बन्दै गएको पनि संसद्मा बताए।

उपेन्द्र महतो सिआईबी किन पुगे?

काठमाडौं। स्मार्ट टेलिकम र एनसेलसँग सम्बन्धित प्रकरणमा सोधपुछका लागि व्यवसायी उपेन्द्र महतो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा उपस्थित भएका छन्।

सिआईबीका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार महतो आफैँ सिआईबी कार्यालयमा उपस्थित भएका हुन्। उनका अनुसार महतोसँग अनुसन्धानका क्रममा आवश्यक विषयमा सोधपुछ भइरहेको छ।

सरकारी नियन्त्रणमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी सरकारी हक समाप्त पार्ने प्रयास भएको आशंकामा सिआईबीले अनुसन्धान अघि बढाएको हो।

यसै प्रकरणमा गत वैशाख २२ गते तत्कालीन स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशी पक्राउ परेका थिए। सरकारी नियन्त्रणमा पुगिसकेको सम्पत्ति बदनियतपूर्वक लिलामी गर्न बैंकलाई मञ्जुरीनामा दिएको आरोप उनीमाथि छ।

जोशी पक्राउ परेपछि लिलामी प्रक्रियासँग जोडिएका पलिना श्रेष्ठ र नरेन्द्र उलाकलाई समेत प्रहरीले पक्राउ गरेको थियो।

महतोसँगको सोधपुछपछि प्रकरणमा उनको भूमिका र अन्य सम्बन्धित विषयमा थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।

रास्वपा सांसदको प्रश्न, ‘गोली चलाउने आदेश कसले दियो?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अफ्साना बानुले बल प्रयोग गरेर शान्ति स्थापना गर्न नसकिने भन्दै बारम्बार गोली चलाउने निर्देशन कसले दिइरहेको हो भन्ने प्रश्न सरकारसमक्ष उठाएकी छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बानुले गोली चलाएर समाजमा शान्ति कायम गर्न नसकिने बरु त्यसले परिस्थिति झनै जटिल र विकराल बनाउने बताइन्।

‘बारम्बार गोली चलाउने निर्देशन कसले र कुन प्रशासनबाट दिइरहेको छ? गोली चलाएर समाजमा र मुलुकमा शान्ति कायम हुन्छ जस्तो मलाई लाग्दैन। यसले झन् ठूलो संकट निम्त्याउँछ,’ उनले भनिन्।

सांसद बानुले बल प्रयोगभन्दा संवाद, सचेतना र सामाजिक सहकार्यबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिइन्। उनले प्रशासनले समुदायसँग समन्वय गर्दै सामाजिक चेतना अभिवृद्धिमा ध्यान दिनुपर्ने धारणा राखिन्।

उनले आफूहरूलाई संसद्मा पुर्‍याउने मतदाताले धर्म वा जातका आधारमा नभई नेपाली नागरिकका रूपमा विश्वास गरेर मत दिएको उल्लेख गर्दै राजनीतिक नेतृत्वले पनि त्यही भावनाअनुसार अघि बढ्नुपर्ने बताइन्।

‘आज हामीलाई यस गरिमामय सदनमा पुर्‍याउने मतदाताहरू केवल हिन्दु वा केवल मुस्लिम थिएनन्, उहाँहरू सबैभन्दा पहिले नेपाली हुनुहुन्थ्यो। उहाँहरूले धर्म र जातजातिभन्दा माथि उठेर नेपालको भविष्य, विकास, समृद्धि र गाउँ-समाजको हितका लागि हामीमाथि विश्वास गरेर यहाँ पठाउनुभएको हो,’ उनले भनिन्।

सांसद बानुले सामाजिक सद्भाव, राष्ट्रिय एकता र शान्ति कायम गर्न सबै राजनीतिक दल, सरकार र प्रशासनले जिम्मेवार ढंगले भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याइन्।

सुनसरी घटनापछि राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौं। प्रधानमन्त्री बालेन शाहको आह्वानमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।

परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री शाहको नेतृत्वमा बसेको बैठकमा सुनसरीको कप्तानगञ्जमा भएको घटनासहित देशको समग्र शान्ति–सुरक्षा अवस्थाबारे छलफल भइरहेको छ।

बैठकमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधानसेनापतिको सहभागिता रहने व्यवस्था छ। रक्षा सचिवले परिषद्को सदस्य सचिवका रूपमा काम गर्छन्।

राष्ट्रिय सुरक्षा परिषद्ले मुलुकको समग्र राष्ट्रिय हित, सुरक्षा तथा प्रतिरक्षासम्बन्धी विषयमा सरकारलाई राय–सल्लाह दिने तथा आवश्यक नीति र कार्ययोजना तयार गर्न भूमिका खेल्छ।

त्यस्तै, नेपाली सेनाको परिचालन वा नियन्त्रणका सम्बन्धमा सरकारलाई सिफारिस गर्ने, सेनाको सुदृढीकरण तथा आधुनिकीकरणका लागि योजना बनाउने र सुरक्षा निकायका लागि आवश्यक हातहतियार तथा उपकरणसम्बन्धी नीति तर्जुमा गर्ने जिम्मेवारी पनि परिषद्को हो।

टिकटकर तुलसी अधिकारीको मुद्दा के हुँदैछ?

काठमाडौं। टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीविरुद्ध दायर मुद्दामा बिहीबार ललितपुर जिल्ला अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ।

अधिकारीविरुद्ध दायर सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दाको सुनुवाइ जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासमा हुने भएको हो। उनी हाल पुर्पक्षका लागि थुनामा रहेकी छन्।

यसअघि ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले प्राप्त प्रमाणका आधारमा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

अधिकारीविरुद्ध २०८२ चैतमा सरकारी वकिल कार्यालयले ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो। मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी छन्।

अधिकारीलाई इन्टरपोलबाट रेड नोटिस जारी भएपछि अन्तर्राष्ट्रिय प्रहरी संगठनको सहयोगमा थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको थियो।

अधिकारीविरुद्ध जाहेरी दिने ललितपुरका एक व्यवसायीले आफूलाई बलात्कार मुद्दामा फसाइदिने धम्की दिँदै निरन्तर ब्ल्याकमेलिङ गरेको आरोप लगाएका छन्। ब्ल्याकमेलिङमार्फत अधिकारीले आफूसँग करिब ४ करोड ५० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी लिएको दाबी पनि जाहेरीमा गरिएको छ।

अब बिहीबारको सुनुवाइमा अदालतले मुद्दासँग सम्बन्धित प्रारम्भिक कानुनी तथा प्रक्रियागत विषयमा छलफल गर्नेछ।