`

विराटनगरमा एमाले प्रतिनिधि छनोटमा विवाद र हात हालाहाल

विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विराटनगरमा विवाद हुँदा केही समय मतदान रोक्नुपर्ने अवस्था सिर्जना भएको छ ।

शनिबार पार्टी कार्यालय पाञ्चालीमा भएको मतदानमा संस्थापन पक्षका नेता पर्शुराम बस्नेतमाथि इतर समूहका कार्यकर्ताले हातपात गरेको घटना प्रहरीद्वारा पुष्टि भएको छ । विवाद मुख्यतः वडा नम्बर १२ का वडाध्यक्ष भानुभक्त पाठकले एक व्यक्तिलाई मतदानका लागि लैजाने क्रममा सुरु भएको थियो । संस्थापन पक्षले पटक–पटक एउटै व्यक्तिलाई मतदानमा लैजानु ठीक नभएको भन्दै आपत्ति जनाएका थिए ।

यसैबीच मोरङ क्षेत्र नम्बर ६ मा पनि प्रतिनिधि चयन प्रक्रियामा धक्कामुक्की र विवाद भएको छ । संस्थापन पक्ष र अन्य समूहबीच प्यानल भिडन्त हुँदा सर्वसम्मत प्रतिनिधि छनोट हुन सकेन । डबल मत हालिएको आरोपपछि मतदान केही समयका लागि स्थगित पनि भएको थियो ।

एमाले मोरङका जिल्ला स्रोतले विवादका क्रममा विनोद ढकाल समूहका कार्यकर्ताले बस्नेतमाथि हातपात गरेको जनाएको छ । मतदान पुनः सुरु भए पनि प्रतिनिधि छनोट प्रक्रिया तनावपूर्ण अवस्थामा रहेको बताइएको छ ।

पाकिस्तानको उत्तरपश्चिममा जीप दुर्घटनामा पाँच जनाको मृत्यु, पाँच घाइते

इस्लामाबाद  ।   पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा जीप दुर्घटनामा परेको छ, जसमा कम्तीमा पाँच जनाको मृत्यु भएको र पाँच जना घाइते भएका छन् ।
घटना एबटाबाद जिल्लाको हेभेलियन क्षेत्रमा भएको हो । उद्धार टोलीका अनुसार, ११ जना यात्रु बोकेको गाडी खाल्डोमा खसेको थियो । गाडीमा केही विद्यालयका विद्यार्थीहरू समेत रहेका थिए ।

उद्धार टोलीका अनुसार, स्थलमै तीन जनाको मृत्यु भएको थियो भने सात जनालाई अस्पतालमा पु¥याइएको थियो, जसमा दुई जनाको उपचारकै क्रममा मृत्यु भएको थियो । घाइतेमध्ये दुई जनालाई गम्भीर अवस्थामा रहेकाले आयुब स्वास्थ्य केन्द्रमा सारिएको छ ।

पाकिस्तानमा खराब सडक अवस्था र यातायात नियमको अवहेलनाका कारण सडक दुर्घटना हुने जोखिम बढी रहेको बताइएको छ ।

वाम शक्तिहरुलाई एकतामा आउन नेकपाको आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले वाम, समाजवादी, लोकतान्त्रिक तथा देशभक्त शक्तिहरूलाई व्यापक एकता र सहकार्यको ढाँचामा सहभागी हुन औपचारिक आह्वान गरेको छ ।

सात दशकभन्दा लामो कम्युनिष्ट आन्दोलनको उतार–चढाव, विभाजन र पुनःएकीकरणका अनुभवलाई समेट्दै १५ विभिन्न पार्टी र समूहहरूको एकीकरणबाट पुनर्गठित नेकपाले नयाँ राजनीतिक परिस्थितिमा राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र सुशासनका मुद्दामा साझा पहल आवश्यक रहेको ठहर गरेको छ ।

पार्टीद्वारा जारी विस्तृत अपिलमा जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेश आन्दोलनदेखि पछिल्लो ‘जेन जी आन्दोलन’ सम्मका ऐतिहासिक संघर्षका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै वेपत्ता, घाइते तथा अपाङ्ग अग्रपङ्क्तिका योद्धाप्रति सम्मान व्यक्त गरिएको छ । हालको आन्तरिक अर्थ–राजनीतिक जटिलता र बदलिँदो क्षेत्रीय–अन्तर्राष्ट्रिय भू–राजनीतिलाई संवेदनशील ठहर गर्दै नेकपाले विद्यमान राजनीतिक व्यवस्थासँग पुरानो उत्पादन प्रणालीको अन्तर्विरोधका कारण जनतामा अपेक्षित परिवर्तन नआएको विश्लेषण गरेको छ ।

पार्टीका अनुसार यथास्थितिवादी शक्तिहरुले गणतान्त्रिक उपलब्धिमा धावा बोल्ने प्रयास गर्दै आएको र अर्कोतर्फ जनतामा सुशासन तथा सामाजिक न्यायप्रतिको चाहना तीव्र बन्दै गएको परिस्थितिले राष्ट्रिय सहमतिको पहल अपरिहार्य बनाएको छ । नेकपाले सरकारमा रहेर सुशासन र आर्थिक–सामाजिक रुपान्तरणका कार्यक्रम अघि बढाएको दाबी गर्दै, त्यसलाई रोक्न प्रतिगामी शक्तिहरुले राजनीतिक हस्तक्षेप गरेको आरोप लगाएको छ ।

जेन जी आन्दोलनका पृष्ठभूमिमा देखिएको असन्तुष्टि, त्यसपछि उत्पन्न हिंसा र अराजकताका घटनाको उल्लेख गर्दै पार्टीले त्यस आन्दोलनमा प्रकट भएको नयाँ पुस्ताको चाहनालाई राजनीतिक अडान, सुशासन र उन्नत लोकतन्त्रतर्फ निर्देशित गर्नुपर्ने जनाएको छ । गैरदलीय सरकार बनेपछि तत्कालको अनिश्चय केही हटेपनि संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनतामाथि चुनौती अझै बाँकी रहेको चेतावनी पार्टीले दिएको छ ।

घोषित तिथिमा निर्वाचन सम्पन्न गर्नु अत्यावश्यक रहेको पुनः दोहोर्‍याउँदै नेकपाले चुनावलाई बिथोल्ने, लोकतान्त्रिक दलहरूलाई कमजोर पार्ने तथा संविधानविरुद्ध कुचेष्टा गर्ने सम्भावित प्रयासप्रति सतर्कता व्यक्त गरेको छ । पार्टीले वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरूबीच साझा मोर्चा बनेर संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एकीकृत कदम चाल्न अपिल गरेको छ ।

नेकपाले समाजवादी मोर्चाबाट पार्टी एकतामा रूपान्तरण गर्दै ‘नेपाली विशेषताको समाजवाद’ लाई रणनीतिक कार्यक्रमका रूपमा अघि सारेको छ । माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै सार्वजनिक, सामुदायिक र निजी स्वामित्वको मिश्रित उत्पादन संरचना, शिक्षा–स्वास्थ्यमा राज्यको बढ्दो दायित्व, सामाजिक असमानता अन्त्य, असंलग्न र सन्तुलित परराष्ट्र नीति लगायतका आधारभूत पक्षहरूलाई पार्टी एकताको केन्द्रमा राखिएको बताइएको छ ।

स्वतन्त्रता र अनुशासनको सन्तुलनमा आधारित जनवादी केन्द्रीयतालाई संगठनात्मक आधार बनाउँदै पार्टीले एकता प्रक्रिया राष्ट्रिय महाधिवेशनमार्फत थप सुदृढ बनाइने जनाएको छ । पुनर्गठित नेकपाले वाम, समाजवादी, सच्चा लोकतन्त्रवादी तथा देशभक्त सबै शक्तिलाई समाजवादी परिवर्तनको दिशामा सुरू भएको एकता र ध्रुवीकरणको नयाँ यात्रामा सहभागी हुन खुलेर आह्वान गरेको छ ।

पोखरा एभेन्जर्सलाई पराजित गर्दै लुम्बिनी लायन्सको रोमाञ्चक जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई तीन विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ ।

पहिलो चार खेलमध्ये तीनमा हार बेहोरेको लुम्बिनी आजको आफ्नो पाँचौ खेलमा जित्नैपर्ने दबाबमा थियो । आजको जितसँगै लुम्बिनी तालिकामा पाँच खेलबाट चार अङ्कसहित पाँचौ स्थानमा उक्लिएको छ ।  आजको हार भए पनि पोखराको प्लेअफमा पुग्ने सम्भावना भने जीवितै छ । पोखराले हालसम्म चार खेलमध्ये एकमा जीत निकालेको छ । अहिले पोखरासँग दुई अङ्क मात्रै छ ।
पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९ दशमलव चार ओभरमा सात विकेटको क्षतिमा पूरा ग¥यो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ४० रन बनाए भने निरोशन दिकवेल्लाले महत्वपूर्ण ३७ रन बनाए । साथै सन्दीप जोराले २५ रनको योगदान दिए ।
पोखरा एभेञ्जर्सका लागि विपिन खत्री, खत्री मार्क टेलर र सागर ढकालले दुई/दुई विकेट लिए भने जिमी निशमले एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५० रन बनाएको थियो । पोखराले पारीको सुरुआत राम्रो गरेन । उसले १५ रन बनाउँदा दिनेश खरेललाई पहिलो विकेटका रुपमा र दोस्रो विकेटका रुपमा कप्तान कुशल भुर्तेललाई गुमायो ।
त्यसपछि आएका सुमित बर्मा खाता खोल्न सकेनन् भने तिर्तराज दासले पनि जम्मा एक रन बनाए । तर सातौ ब्याटरका रुपमा आएका जिमी निशम र ओपनर एडम रोसिङटनको जोडीले पाँचौ विकेटका लागि ९२ रनको महत्वपूर्ण साझेदारी ग¥यो । रोसिङटनले ६३ बलमा पाँच छक्का र सात चौकाको सहयोगमा ८१ रन बनाए भने निशमले ५१ रन बनाए । अर्धशतक बनाउने क्रममा निशमले तीन छक्का र तीन चौका प्रहार गरे  ।
लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले दुई/दुई विकेट लिए भने गुलबदिन नाइबले एक विकेट हात पारे ।  आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुनेछ ।

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जिया अस्पतालमा, स्वास्थ्य चिन्ताजनक

ढाका । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था अस्पताल भर्ना भएयता लगातार बिग्रिएको छ । उनका परिवार र पार्टीका सदस्यहरूले नागरिकहरूलाई उनको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्न अनुरोध गरेका छन् ।

८० वर्षीया जिया फोक्सो सङ्क्रमणका लक्षण देखिएपछि अस्पताल भर्ना भएकी थिईन् । बङ्गलादेश राष्ट्रिय पार्टीका नेता मिर्जा फख्रुल आलमगिरले भने,“डाक्टरहरूले हामीलाई उनको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको जानकारी दिएका छन् ।”

केही वरिष्ठ नेता र समर्थकहरूले अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । समाचार अनुसार, जियालाई मिर्गौला सम्बन्धी समस्या, मधुमेह, फोक्सो समस्या र आँखासम्बन्धी रोग छन् ।

उनकी जेठी छोरी तारिक रहमानले भन्छिन्,“हामी सबैको प्रार्थना र माया प्रति हार्दिक धन्यवाद व्यक्त गर्छौं ।”

खालिदा जिया तीनपटक प्रधानमन्त्री रहिसकेकी छिन् । सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा जेल चलान गरिएकी जियालाई विदेशमा उपचार गर्न पनि अनुमति थिएन । उनी गत वर्ष रिहा भएकी थिइन् ।

 

सफ्टवेयर अपडेट समस्याका कारण एयर न्यूजील्यान्डका १२ उडान प्रभावित

वेलिङ्टन । एयर न्यूजील्यान्डले ३७ वटा एयरबस विमानमा आवश्यक सफ्टवेयर अपडेट लागू गर्नुपर्ने भएपछि १२ उडान रद्द गरेको छ ।

एयर न्यूजील्यान्डका प्रमुख सुरक्षा अधिकारी नेथन म्याकग्रोका अनुसार, यो सफ्टवेयर अपडेट समस्या देशभित्र र अन्तर्राष्ट्रिय उडानमा सञ्चालन हुने ३७ वटा एयरबस विमानलाई प्रभावित गरिरहेको छ । उहाँले यो अपडेट पूरा गर्न करिब दुईदेखि तीन दिन लाग्ने अनुमान गरिएको बताएका छन् ।

न्यूजील्यान्ड नागरिक उड्डयन प्राधिकरणका अनुसार उनीहरू एयरबस ए–३२० विमानको अवस्थाबारे पूर्ण रूपमा अवगत छन् र यूरोपेली सङ्घको उड्डयन सुरक्षा एजेन्सीले जारी गरेको आपत्कालीन सुरक्षा निर्देशन कार्यान्वयन गर्न एयर न्यूजील्यान्ड र अन्य सम्बन्धित निकायहरूसँग मिलेर काम गरिरहेका छन् ।

यस निर्देशनअनुसार सबै ए–३२० विमानमा आवश्यक सफ्टवेयर अपडेट गर्नु अनिवार्य गरिएको छ ।

फागुन २१ मा निर्वाचन नहुने दुर्गा प्रसाईंको दाबी

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले फागुन २१ मा निर्वाचन नहुने दाबी गरेका छन् । शनिवार पत्रकार सम्मेलन गर्दै प्रसाईंले फागुन २१ मा निर्वाचन नहुने दाबी गरेका हुन्। उनले अहिलेको सरकारमा रहेकाहरुको पनि भ्रष्टाचारी जात नै रहेको टिप्पणी गरे।

उनले अहिलेको सरकार पनि भ्रष्टाचारमा विगतको भन्दा फरक नरहेको जिकिर गरे । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफैँले सरकारी जग्गा मिचेको आरोप लगाउनु हुँदै उनले आफूले हालसम्म कुनैपनि भ्रटाचार र अनियमितता नगरेको दाबी गरे।

उनले भने, ‘चुनाव नै हुँदैन । चुनाव नहुने क्लियर छ । अहिलेको सरकारको नेतृत्वमा रहेकाहरुको पनि जात एउटै हो । विगतका सरकार भन्दा फरक छैन । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफैँले सरकारी जग्गा मिचेको रहेछ । केको भ्रष्टाचारविरोधी रु मैले कुनै अनियमितता गरेको छैन ।’

उनले मंसिर २२ गते प्रधानमन्त्री सुशीला कार्कीसँग आफ्ना मागहरुसहित भेटवार्ता गर्ने बताए । २२ गते प्रधानमन्त्रीसँगको वार्तापछि सरकारले आफूहरुका माग सम्बोधन गर्नेमा आधा मात्रै विश्वस्त रहेको बताउनु हुँदै माग पूरा नभए आन्दोलन हुने बताए । उनले आफ्नो माग नाजायज नरहेको बताए ।

पीडितलाई अन्याय हुन नदिने मन्त्री खरेलको प्रतिबद्धता

काठमाडौँ । स्मार्ट टेलिकम पीडितहरुले टावर व्यवस्थापन, घरभाडालगायत समस्या समाधानका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष पहल गरिदिन आग्रह गरेका छन् ।

सञ्चारमन्त्रीसँग शुक्रबार भएको भेटमा उनीहरूले आफूहरु लामो समयदेखि पीडित रहेको भन्दै स्मार्ट पीडितले स्मार्ट टेलिकमका कारण उत्पन्न समस्या समाधानमा सकारात्मक हस्तक्षेपको अपेक्षा गरेको बताए ।

पीडितका समस्या सुनेपछि मन्त्री खरेलले कसैलाई अन्याय हुन नदिने बताएका छन् । उनले भने, “कसैलाई अन्याय हुन दिन्नौँ, नियामक निकायसँग बुझेर समस्या समाधानको पहलकदमी लिन्छौँ । ”

स्मार्ट टेलिकम टावर पीडित संयोजक कृष्णबहादुर थापाले भने, “ कम्पनी खारेज भएको तीन वर्ष बितिसक्दा टावर व्यवस्थापन भएको छैन । टावरको भाडा पनि पाइएको छैन, बिजुलीको पैसा उठेको छैन ।”

स्मार्ट बन्द हुँदा धेरै सङ्ख्यामा नेपालीले रोजगारी गुमाएको उनीहरुको भनाइ छ । स्मार्ट कार्ड र सिम कार्डमा लगानी गरेका व्यवसायीको लगानी खेर गएको छ । कम्पनी बन्द भएको तीन वर्ष बितिसक्दा बैंकलाई ब्याज बुझाउनुपरेको तर कार्डको पैसा फिर्ता आउने टुङ्गो नभएको पीडितको गुनासो छ ।

स्मार्ट समस्या समाधान समूहमा स्मार्ट कार्ड समूह, टावर राखेको घरबेटीहरुको समूह, स्मार्टमै काम गर्ने कर्मचारीलगायत छन् । अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले दूरसञ्चार ऐनबमोजिम स्मार्ट टेलिकमको अनुमतिपत्र २०८० साल वैशाख ३ गते स्वतः खारेज भएको थियो ।

राजावादीको बिजुलीबजारमा प्रदर्शन

काठमाडौँ । राजावादीहरुले काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गरेका छन् । शाही युवा शक्ति नेपालको आयोजनामा शनिवार उनीहरुले प्रदर्शन गरेका हुन् ।

राजतन्त्र पुनःस्थापनाको माग राखी प्रदर्शन गरिएको हो । राजतन्त्र पुनःस्थापनाको लागि जनदबाब सिर्जना गर्न शान्तिपूर्ण प्रदर्शन गरिएको शाही युवा शक्ति नेपालले जनाएको छ ।

प्रदर्शनमा एक दर्जन बढी युवाहरु सहभागी थिए । पछिल्लो समय केही समूहहरुले राजतन्त्र पुनः स्थापनाको माग राखी प्रर्दशन गर्ने गरेका छन् ।

 

उद्यमी राईको लोभलाग्दो आम्दानी

भोजपुर  ।    वैदेशिक रोजगारीबाट फर्किपछि डेरी उद्योग सुरु गरेका पौवादुङमा–१ श्यामशिलाका युवा दीपकुमार राईले राम्रो आम्दानी गरेका छन्  । राईले छिन्तालुङ डेरी उद्योगमार्फत दैनिक ४०० लिटर दूध सङ्कलन गर्दै आएका छन् । यसबाट राम्रो आम्दानी भएको उनको भनाइ छ ।
सङ्कलन गरिएको दूधबाट उनले छुर्पी बनाँउछन् । वार्षिक झण्डै रु ५० लाख बराबरको छुर्पी बाहिर पठाउदै आएका राईले मासिक करिब ४०० देखि ५०० किलोग्राम छुर्पी उत्पादन गर्दै आएका छन् । “मैले दूधभन्दा पनि मुख्य रूपमा छुर्पी बनाएर बेच्ने गरेको छु”, उनले भने, “यहाँको छुर्पी बाहिरका जिल्लामा मात्र नभई विदेशसम्म पनि जाने गरेको छ ।”
गुणस्तरीय छुर्पी प्रतिकेजी रु एक हजार १५० सम्म बिक्री हुने गरेको उनले बताएका छन् । गाउँपालिकाले किसानलाई लक्षित गरेर अनुदानमा गाई वितरण गरेपछि दूध सङ्कलनमा कुनै समस्या नरहेको राईले जानकारी दिएका छन् । “किसानले उत्पादन गरेको दूध सदरमुकामसम्म लैजान समस्या थियो”, उनले भने, “यहाँ नै उद्योग सञ्चालन भएपछि किसानलाई बिक्रीमा सहज भएको छ । म घरघरमै पुगेर दूध सङ्कलन गर्छु ।” उनले नौनी घ्यू प्रतिकेजी रु ७५० र खरुवा घ्यू रु एक हजारमा बिक्री गर्दै आएका छन् ।
श्यामशिला क्षेत्रमा विगतदेखि पशुपालन हुँदै आएको भए पनि बजार अभावका कारण समस्या रहेकामा अहिले सहजता रहेको वडाध्यक्ष राजेन्द्र तामाङले बताएका छन् ।
गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन दुग्ध ‘मिसन कार्यक्रम’ सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताएका छन् । पशुपालनका लागि उपयुक्त क्षेत्रमा उन्नत जातका गाईभैँसी अनुदानमा प्रदान गरिएको उनले जानकारी दिएका छन् ।
“पशुपालन गर्न चाहने किसानलाई ५० प्रतिशत अनुदान सहयोग गर्दै आएका छौँ”, अध्यक्ष राईले भने, “दूध बिक्रीबाट किसानले राम्रो आम्दानी लिन थालेका छन् । प्रोत्साहनका कार्यक्रमले किसानलाई आयआर्जनमा जोडेको छ ।”
स्थानीयलाई पोषण र आयमा जोड्न यसअघिमा वर्षमा १३ वटा उन्नत जातका भैँसी वितरण गरिएको थियो । गत आर्थिक वर्षदेखि पुनःउन्नत जातका गाई वितरण भइरहेको उपाध्यक्ष ज्योत्स्ना राईले बताएका छन् ।

एनपिएलमा ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड प्रदान गरिने, क्यान र एमसिसी बीच सम्झौता

 काठमाडौँ ।  नेपाल प्रिमियर लिग(एनपिएल)मा एउटा टोलीलाई  ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड प्रदान गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र इंग्ल्यान्डको मेरिलेबन क्रिकेट क्लब (एमसिसी)बीच उक्त अवार्ड प्रदान गर्नका लागि सम्झौता भएको हो ।

आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एमसिसीका क्रिकेट अपरेसन्स निर्देशक रब लिन्चले क्यानका सचिव पारस खड्कालाई उक्त अवार्ड हस्तान्तरण गरे । क्यानले अब एनपिएलमा स्पिरिट अफ क्रिकेट प्रोत्साहन गर्ने टिमलाई यो अवार्ड प्रदान गर्ने जनाएको छ ।

खेलमा निष्पक्षता, आपसी सम्मान र खेलको वास्तविक मर्मलाई उत्कृष्ट रूपमा प्रस्तुत गर्ने टोलीलाई यो अवार्ड दिइने क्यानले जनाएको छ । यसका साथै एमसिसीले नेपाली क्रिकेटको विकासका लागि सहकार्य गर्न तयार रहेको समेत बताएको छ ।

 

नेपाली युवा टोली प्रिमियर कपको फाइनलमा

काठमाडौं । नेपाल एसीसी पुरुष यु–१९ प्रिमियर कपको फाइनलमा पुगेको छ । आज (शनिबार) दिउँसो भएको सेमिफाइनल खेलमा मलेसियामाथि ९ विकेटको सहज जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो ।

जितको लागि ५२ रनको झिनो विजयी लक्ष्य पाएको नेपालले ७.५ ओभरमा एक विकेटको क्षतिमा ५५ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । नेपालको लागि भान्श क्षेत्रीले नटआउट २३ र निश्चल क्षेत्रीले नटआउट १५ रन बनाउँदा निरजकुमार यादवले ४ रनको योगदान गरे । मलेसियाका मुहम्मद आक्रमले एक विकेट लिए ।

यसअघि अजमानस्थित सेभेन डिस्ट्रिक्स मैदान २ मा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको मलेसिया १७.२ ओभरमा अलआउट हुँदै ५१ रनमा समेटिएको थियो । मलेसियाको लागि नवौं र दसौं नम्बरमा ब्याटिङ गर्न आएका मुहम्मद फथुल मुइनले ११ र हाम्जाह पंगीले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेपालको लागि नितेशकुमार पटेलले ८ ओभरमा २४ रन दिएर चार विकेट लिँदा चन्दन रामले तीन तथा अप्रजित पौडेल, अशोक धामी र रोशन विश्वकर्माले समान एक-एक विकेट हात पारे । अब नेपालले फाइनल खेलमा आज ओमान र युएईबीच जारी पहिलो सेमिफाइनल खेलको विजेतासँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ ।

विजयको शक्तिपीठ नुवाकोट भगवती (फोटो फिचर)

काठमाडौँ । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट कब्जा गरेपछि यहाँको भगवती देवीलाई कुलदेवताका रूपमा अंगीकार गरेका थिए ।

यो शक्तिशाली शक्तिपीठ त्रिशूली नदीको काखमा डाँडामा अवस्थित छ । जसलाई नवदुर्गाका रूपमा पूजा गरिन्छ । प्रत्येक ठूला युद्धअघि शाह यहाँ बलि दिएर विजयको आशीर्वाद माग्ने प्रचलन थियो ।

जसले यसलाई गोर्खाली शासनको प्रतीक बनायो । प्यागोडा शैलीको यो मन्दिरमा भगवतीको मुख्य मूर्तिसँगै भैरव, गणेश र कुमारका साना मन्दिरहरू छन् । काठमाडौंबाट ७५ किमि टाढा रहेको यो स्थल साततले दरबार र त्रिशूली दृश्यसँगै पर्यटकीय आकर्षण पनि हो ।

मन्दिर व्यवस्थापन समितिकाअनुसार यो काठमाडौं उपत्यकाबाहिरको सबैभन्दा चर्चित शक्तिपीठ हो । जसले नेपाली इतिहास र शक्ति आराधनाको जीवन्त स्मृति बोकेको छ ।

आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकार अनुप प्रधानले कैद गरेका केही तस्बिरहरु ।

 

पृथ्वीराजमार्ग पश्चिम खण्डमा एघार पुल निर्माण

तनहुँ । पोखरा–मुग्लिन ३८ किलोमिटर सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १२ मध्ये ११ वटा पुल निर्माण भएका छन् ।

सडक आयोजना कार्यालयका अनुसारम्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण भएका हुन् । उक्त खण्डमा १०५ वटा कल्भर्ट पनि निर्माण भएका छन् ।

हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.८९ र वित्तीय प्रगति ४७.८० प्रतिशत भएको छ । करिब ३० किलोमिटर दुईतर्फी९चार लेन० र आठ किलोमिटर एकतर्फी (दुई लेन) कालोपत्र भएको छ । पूर्वी खण्ड (जामुने–मुग्लिन) को ४३ किलोमिटर सडक निर्माण भने अन्तिम चरणमा पुगेको छ ।

पत्रकार आचार्यको दुर्घटना शंकास्पद रहेको भन्दै आफन्त आन्दोलित

कालिकोट । प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेसन म्यानेजर वीरेन्द्र आचार्यको स्कुटर दुर्घटनामा परी मृत्यु भएको घटनामा आफन्तहरू आन्दोलित बनेका छन् । गए राति आचार्य सवार स्कुटर सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ को कार्यालय अगाडि मोटरसाइकलसँग ठोक्किएर दुर्घटनामा परेको थियो ।

सुर्खेत–जुम्ला सडकअन्तर्गत मूलपानीबाट भुरेलीतर्फ जाँदै गरेका २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल र ३४ वर्षीय आचार्य सवार लुम्बिनी प्रदेश ३६ प ३८८६ नम्बरको स्कुटर ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते शुभकालिका गाउँपालिका– १, घर भई हाल वीरेन्द्रनगर– १, बस्ने आचार्यको उपचारको क्रममा गए राति कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको थियो ।

आचार्यको दुर्घटना शंकास्पद रहेको भन्दै अहिले मूलपानी चोकमा आफन्तले टायर बालेर सडक अवरुद्ध गरेका छन् । आफन्तले घटनाको निष्पक्ष छानबिन गरी पीडकलाई कारबाही र मृतक आचार्यका परिवारलाई उचित क्षतिपूर्तिको माग राखेका छन् । दुर्घटनामा मोटरसाइकल चालक शाही पनि घाइते छन् । उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

तर आचार्यका आफन्तलाई घटनास्थलमै गम्भीर त्रुटि भएको शंका छ । प्रहरीले रातारात प्रमाण नष्ट गर्ने गरी काम गरेको, मुचुल्का नउठाई पानी खन्याएको जस्ता आरोप उनीहरूले सार्वजनिक गरेका छन् । यही कारण शनिबार बिहानदेखि उनीहरूले सडकमै उत्रिएर आवाज उठाएका हुन् । यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी दीपक मगरातीले गम्भीर घाइतेलाई तुरुन्त उपचारमा पठाएको हुँदा अहिले उल्टै आरोप लगाएको बताएका छन् ।

एमाले कार्यकताले गर्दैछन् महाधिवेशन प्रतिनिधि चयन

काठमाडौं । नेकपा (एमाले) का नेता तथा कार्यकर्ता ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न स्वदेश र प्रवासमा व्यस्त छन् ।यही मंसिर २७ देखि २९ गतेसम्म आयोजना हुने महाधिवेशनका लागि पार्टीका करिब छ लाख ६७ हजार ६३० संगठित सदस्यबाट झण्डै दुई हजार २०० सय प्रतिनिधि चयन गर्न जिल्ला–जिल्लामा उनीहरू व्यस्त भएका हुन् ।

महाधिवेशनका लागि यसपटक प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवक प्रतिनिधिको कोटा सुरक्षित गरिएको छ । प्रदेश कमिटीहरूबाट ४५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट करिब एक हजार, विशेष जिल्ला कमिटीबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४० प्रतिनिधि चयन हुनेछन् ।

पार्टी विधानअनुसार महाधिवेशनमा आयोजक केन्द्रीय कमिटीबाट तीन सय ५४ स्वतः प्रतिनिधि हुनेछन् । केन्द्रीय अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५ र सल्लाहकार परिषदबाट २५ प्रतिनिधि गरी चार सय ६४ स्वतः प्रतिनिधि हुनेछन् ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार गत कात्तिक १५ गतेको केन्द्रीय सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रति एक हजार २०० संगठित सदस्य बराबर दुई खुला र एक महिला एक प्रतिनिधि हुनुपर्ने व्यवस्था बमोजिम प्रतिनिध छनोट जारी छ । –रासस

नेपाल उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा भारतमा सम्मानित

काठमाडौँ ।  भारतको पुणेमा आयोजित भारत इन्टरनेशनल ट्राभल मार्ट (आईआईटीएम) मा नेपाललाई वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यका रूपमा सम्मान गरिएको छ । यही नोभेम्बर २७ देखि २९ सम्म आयोजित आईआईटीएममा अवाड्र्स नाइट, ०२५ मा नेपाललाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको जनाइएको छ ।

उक्त अवार्ड नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्ड सदस्य नरेन्द्र भट्ट र वरिष्ठ अधिकृत नरायण बस्यालले ग्रहण गरेका थिए । अवार्ड समारोहमा आयोजित ‘डेस्टिनेसन प्रिजेन्टेशन’ सत्रमा बोर्डका वरिष्ठ अधिकृत रोबिन रेग्मीले नेपालको विविध पर्यटन आकर्षणहरू, बुद्ध सर्किट, रामायण सर्किट, तथा अन्तरदेशीय इको–ट्रेलहरूजस्ता पर्यटन उत्पादन समेटिएको श्रव्यदृश्य प्रस्तुति दिएको थियो ।

जसमा नेपालमा युनेस्को विश्व सम्पदा सूचीमा परेका क्षेत्रहरू, आध्यात्मिक तीर्थाटन मार्गहरू, विश्वस्तरीय पदयात्रा तथा हिमाल आरोहण अवसरहरू र रोमाञ्चक साहसिक खेलहरू प्रमुख आकर्षण रहेको बारे जानकारी गराइएको हो ।

आइआइटीएम पुणे, २०२५ मा नेपाल पर्यटन बोर्डको सक्रिय सहभागिताले भारतीय पर्यटन बजारसँगको सम्बन्ध अझ प्रगाढ बनाउने तथा नेपाललाई ‘अल सिजन डेस्टिनेसन’ र ‘लाइफटाइम एक्सपेरियन्स’ प्रदान गर्ने देशका रूपमा प्रवर्द्धन गरिएको बोर्डको नेतृत्व गर्दै कार्यक्रममा सहभागी वरिष्ठ अधिकृत रेग्मीले बताएका छन् ।

आइआइटीएममा नेपाल पर्यटन बोर्डले १५ वटा प्रमुख ट्राभल व्यापार कम्पनीहरूसँगको सहकार्यमा भारतका यात्रा व्यवसायी तथा प्रमोटरका माझ नेपालका विशिष्ट पर्यटन प्याकेज तथा आकर्षणहरू प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए ।

तीनदिने ट्राभल मार्टमा विश्वका विभिन्न मुलुकका विभिन्न ट्राभल व्यापार प्रतिनिधि तथा पर्यटन व्यवसायी र पर्यटकहरूको सक्रिय सहभागिता छ । बोर्डले आइआइटीएममा रहेको नेपाल पभेलियनमा नेपालका समृद्ध सांस्कृतिक सम्पदा, साहसिक गन्तव्य, र अतिथिसत्कार प्रस्तुत गर्ने सशक्त मञ्च भएको उल्लेख गरेको छ ।

नेपाल पर्यटन बोर्ड तथा साझेदारहरूको सफल सहभागिताले नेपालप्रति भारतीय बजारमा उल्लेखनीय चासो र माग बढाउने बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताएका छन् । यस किसिमका अन्तरराष्ट्रिय मञ्चहरुमा भएको बोर्डको सक्रिय सहभागिताले नेपाललाई भारतीय पर्यटकहरूको प्राथमिक गन्तव्यका रूपमा थप सशक्त बनाउने सीईओ जोशीको विश्वास छ ।

तेल मूल्य स्थिर राख्न ‘ओपेक प्लस’को रणनीतिक कदम

भियना । ‘ओपेक प्लस’ का प्रमुख सदस्य राष्ट्रहरूले सन् २०२५ मा अपनाएको तेल उत्पादन नीति समग्रमा प्रभावकारी देखिएको छ । अप्रिलदेखि साउदी अरब, रूस, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत, कजाकिस्तान, अल्जेरिया र ओमानले करिब २.९ लाख ब्यारेल प्रतिदिन उत्पादन बढाउँदै प्रतिस्पर्धी मुलुकहरूसँगको बजार हिस्सेदारी विस्तार गर्ने प्रयास गरेका थिए । उत्पादन वृद्धि भएपनि बजारमा आपूर्ति धेरै भएको कारण मूल्यमा केही दबाब परेको थियो । तर, विश्वव्यापी राजनीतिक घटनाक्रमले तेल मूल्यमा ठूलो गिरावट हुनबाट रोक्न मद्दत गरेको विश्लेषकहरूले बताएका छन् ।

ओपेक प्लस पेट्रोलियम निर्यातक देशहरूको सङ्गठनका सदस्य राष्ट्रहरू र केही गैर–सदस्य तेल उत्पादक देशहरूको समूह हो । यस समूहको मुख्य उद्देश्य विश्व तेल बजारमा स्थिरता ल्याउनु, तेलको आपूर्ति नियन्त्रण गर्नु र मूल्य अस्थिरतालाई न्यून गर्नु हो । समूहले तेल उत्पादन कोटा निर्धारण गरी आपूर्ति बढाउने वा घटाउने निर्णय गर्छ र बजारको मागअनुसार रणनीति बनाउँछ । यसरी, ओपेक प्लस विश्व तेल बजारमा मूल्य र आपूर्ति सन्तुलन कायम राख्ने राजनीतिक–आर्थिक गठबन्धनको रूपमा काम गर्छ ।

अनपेक्षित घटनाले तेल माग बढायो

वर्षको सुरुवातमा अनुमान गर्न नसकिने केही घटनाले तेलको माग बढायो । ती घटनामा १२ दिन चलेको इरान–इजरायल द्वन्द्व, अमेरिकाद्वारा रूसमाथि थपिएको ऊर्जा प्रतिबन्ध र चीनले ठूलो मात्रामा कच्चा तेल भण्डारण गर्नु प्रमुख छन् । यी घटनाले ओपेक प्लसले उत्पादन बढाउँदा मूल्यमा पर्ने नकारात्मक प्रभावलाई संतुलनमा राखिदियो । एचएसबीसीकी ऊर्जा विश्लेषक किम फुश्टिएरले भने,“यी सबै घटना अप्रत्याशित भए तापनि यिनैले ओपेक प्लसको रणनीति सफल बनाउन सहयोग गरे ।”

ट्रम्प प्रशासनको प्रभाव

सन् २०२५ मा अमेरिकामा डोनाल्ड ट्रम्प पुनः राष्ट्रपति बनेपछि ओपेक प्लसका निर्णयमा अमेरिकी प्रभाव स्पष्ट देखियो । ट्रम्पले साउदी अरबलाई तेल मूल्य घटाउन उत्पादन वृद्धि गर्न आग्रह गरेका थिए । साउदी अरबले अमेरिकासँगको कूटनीतिक सम्बन्ध मजबुत राख्न यसलाई सकारात्मक रूपमा लिएको विश्लेषकहरूले बताएका छन् । यसको बदलामा अमेरिका र साउदीबीच नागरिक आणविक उर्जा सम्बन्धी सहकार्य र उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा पहुँचसम्बन्धी सम्झौता भएको छ ।

२०२६ को पहिलो त्रैमासमा उत्पादन स्थिर राख्ने निर्णय

डिसेम्बरमा अन्तिम पटक कोटा वृद्धि गरेपछि ओपेक प्लसले सन् २०२६ को पहिलो त्रैमासमा उत्पादन समायोजन नगर्ने निर्णय गरेको छ । उनीहरूको तर्क अनुसार सो अवधिमा मांग सामान्यतया कमजोर हुने भएकाले उत्पादन स्थिर राख्नु उचित हुन्छ । साथै रूस–युक्रेन युद्धसँग सम्बन्धित वार्ताको अनिश्चितता पनि निर्णायक कारक बनेको छ । यदि तनाव कम भयो भने तेल मूल्यमा रहेको जोखिम घट्न सक्छ, तर तनाव बढेमा अमेरिकी प्रतिबन्धले रूसी तेल उद्योगमाथि थप दबाब पार्नेछ, जसको असर पुनः विश्व बजारमा पर्न सक्नेछ ।

श्रीलङ्कामा भीषण बाढी–पहिरो: १२३ जनाको मृत्यु, १३० जना बेपत्ता

कोलम्बो । श्रीलङ्कामा देशभर परेको भारी वर्षा र बाढीका कारण हालसम्म १२३ जनाको ज्यान गएको छ भने १३० जना अझै बेपत्ता रहेका छन् ।

महानिर्देशक सम्पत कोटुवेगोदा अनुसार राहत कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ र ४३ हजार ९९५ जनालाई घर क्षतिग्रस्त भएकाले राज्य संचालित राहत केन्द्रमा सारिएको छ ।

भारी वर्षा सोमबारदेखि सुरु भएको थियो र बुधबार मुख्य क्षेत्रमा अझ तीव्र वर्षा भएपछि देशभर बाढीको अवस्था झन् गम्भीर बनेको छ ।

शुक्रबार साँझ केलानी नदीको तटवन्ध भाँचिँदा धेरै मानिसहरू अस्थायी शिविरमा सारिनु परेको थियो ।
देशका अधिकांश भागमा वर्षा कम भए पनि उत्तरतर्फका केही क्षेत्रमा अझै पानी परिरहेको छ ।

भारतले पीडितहरूको लागि आवश्यक राहत सामग्री पठाइसकेको छ र आवश्यक परे थप सहयोगका लागि तयार रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

सरकारले उद्धार र राहत कार्यलाई अझ सुदृढ बनाउन सैनिक बल परिचालन गरेको छ, जहाँ हेलिकोप्टर र डुङ्गा प्रयोग गरी फसेका बासिन्दाहरू उद्धार गरिएको छ ।

केन्द्रका अधिकारीहरूले बताए अनुसार बाढीको स्तर सन् २०१६ भन्दा बढी हुने अनुमान गरिएको छ, जब ७१ जनाको मृत्यु भएको थियो ।
सन् २००० पछि श्रीलङ्कामा आएको सबैभन्दा ठूलो बाढी सन् २००३ को जूनमा भएको थियो, जब २५४ जनाको मृत्यु भएको थियो ।

 

स्पेसएक्सका ‘राइडशेयर’ मिसन सफलतापूर्वक प्रक्षेपण

लस एन्जल्स ।   अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार आफ्नो नयाँ ‘राइडशेयर’ मिसन सफलतापूर्वक अन्तरिक्षतर्फ पठाएको छ ।
‘राइडशेयर’ मिसन भनेको एउटा रकेटमार्फत एकैपटक धेरै साना उपग्रह वा उपकरणहरूलाई अन्तरिक्षमा पठाउने कार्यक्रम हो ।

यस किसिमको मिसनमा विभिन्न कम्पनी, संस्था र अनुसन्धान समूहका साना उपग्रहहरू (जस्तै क्यूबस्याट, माइक्रोस्याट वा अन्य वैज्ञानिक उपकरणहरू) एउटै रकेटमा राखिन्छन् ।

यसले एउटै प्रक्षेपणमा धेरै उपकरणहरू अन्तरिक्षमा पु¥याउन सकिने सुविधा दिन्छ र ठूलो खर्च पनि बचत हुन्छ । यसरी, साना र लागत प्रभावकारी मिशनहरू सफलतापूर्वक सञ्चालन गर्न सजिलो हुन्छ ।

‘ट्रान्सपोर्टर–१५’ नाम दिइएको यो मिशन क्यालिफोर्नियाको भ्यान्डेनबर्ग स्पेस फोर्स बेसबाट स्थानीय समय अनुसार बिहान १०ः४४ बजे फाल्कन ९ रकेटमार्फत प्रक्षेपण गरिएको स्पेसएक्सले जनाएको छ ।

स्पेसएक्सका अनुसार मिशनमा कुल १४० पे–लोड (उपग्रह तथा अन्य उपकरण) रहेका थिए, जसमा क्यूबस्याट, माइक्रोस्याट, होस्टेड पे–लोड तथा कक्षान्तरण गर्ने साना यानहरू पनि समावेश थिए । ती मध्ये १३ पे–लोड भने पछि छुट्टै कक्षमा पठाइने छन् ।

स्पेसएक्सले सामाजिक सञ्जाल ‘एक्स’ मा भने अनुसार, यसको राइडशेयर कार्यक्रममार्फत यसअघि सम्पन्न र अहिले चलाएका मिशनहरू मिलाएर एक हजार ४०० भन्दा बढी पे–लोड सफलतापूर्वक कक्षामा पु–याइसकिएका छन् ।

पूर्वराजालाई दुर्गा प्रसाईंको सुझाव : राजा बन्न पृथ्वीनारायण जस्तै मैदानमा आउनु पर्‍यो नि

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति असन्तुष्टि जनाएका छन् ।

आज (शनिबार) भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले पूर्वराजा र राजावादीहरूप्रति असन्तुष्टि जनाएका हुन् । आफू राजसंस्था र हिन्दु राज्यको पक्षमा तीन वर्षदेखि लड्दै आए पनि पूर्वराजा निष्क्रिय बनेको र राजावादीहरूले पनि दोहोरो चरित्र देखाएको उनले आरोप लगाए। सोही कारण आन्दोलन निष्कर्षमा पुग्न नसकेको उनले बताए ।

प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिकामाथि प्रश्न उठाउँदै उनी सक्रिय हुनुपर्ने बताएका छन् । उनले पृथ्वीनारायण शाहको उदाहरण दिँदै राजा आफैं पनि सक्रिय हुनुपर्ने तर्क गरे । ‘हिजो पृथ्वीनारायण शाह पनि त हातमा खुकुरी लिएर निस्किएर पो राजा भएका हुन् त । राजाको पनि त केही न केही त हुनुपर्‍यो नि त, जोड हुनुपर्‍यो, घटाउ हुनुपर्‍यो, बल हुनुपर्‍यो,’ प्रसाईंले भने, ‘राजाका मान्छे चार जना बाटोमा उफ्रिने, तर एउटा राजाको विज्ञप्ति पनि आउँदैन । राजा गएर दमकको चिया बगानमा घाम तापेर बस्ने ?’

प्रसाईंले आफूले राजाको मुद्दा नछोडेको तर राजा र राजावादीहरूले पनि आन्दोलनलाई साथ दिनुपर्ने र निष्क्रिय भएर बस्न नहुने स्पष्ट पारेका छन् । उनले प्रधानमन्त्रीको टेबलसम्म राजसंस्था र हिन्दु राज्यको माग पुर्‍याउनु आफ्नो सफलता भएको समेत दाबी गरेका छन् । उनले आफू ३ वर्षदेखि राजा र हिन्दु धर्मको पक्षमा लडिरहेको, जेल बसेको तर अन्य राजावादी दल र नेताहरूले केही नगरेको दाबी गरे । उनले भने, ‘राजा ल्याउनको लागि लडेकै हो नि, जेल बसेकै हो त । कोही नगर्ने, अनि अहिले आएर विरोध गर्ने ?’

प्रसाईंले विदेशमा बसेर सामाजिक सञ्जालमा क्रान्तिकारी बन्ने तर आन्दोलनलाई सहयोग नगर्ने राजावादीहरूप्रति उनले व्यंग्य समेत गरेका छन्। उनले विदेशमा ग्रिनकार्ड लिएर बस्ने र नेपालमा आन्दोलन चर्काउन उक्साउनेहरूलाई ‘देश फर्केर आउन’ चुनौती दिए । उनले संसदबाट हटाएको राजालाई ल्याउन राजावादीहरूलाई भोट हालेर दुई तिहाई जित्ने व्यवस्था गर्न पनि आग्रह गरेका छन् ।

पोखराले दियो लुम्बिनीलाई १५१ रनको लक्ष्य

काठमाडौं ।  एडम रोसिङटन र जिम्मी निसमको अर्धशतक सहयोगमा पोखरा एभेन्जर्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्ससामु जितका लागि १ सय ५१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५० रन बनाएको छ ।

पोखराका लागि रोसिङ्टनले ८१ रनको अर्धशतकीय पारी खेले । ६३ बलमा ७ चौका र ५ छक्का प्रहार गरे ।

त्यस्तै, जिम्मी निशमले ५१ रनको अर्धशतकीय पारी खेले । ३२ बल खेलेका उलने ३ चौका र ३ छक्का प्रहार गरे । पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए । त्यस्तै गुल्बदिन नैबले एक विकेट लिए । आजको खेलमा दुबै टोली दोस्रो जित निकाल्ने योजनामा छन् ।

एमालेमा अहिले ओलीको विकल्प खोज्ने बेला होइन : सचिव अर्याल

काठमाडौं । नेकपा (एमाले) की सचिव तथा ११ औं महाधिवेशन प्रचार समिति संयोजक पद्मा अर्यालले पार्टी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली नै अपरिहार्य रहेको जिकिर गरेकी छन् ।

पार्टी कार्यालय च्यासलमा बसेको महाधिवेशन प्रचार समितिको बैठकलाई सम्बोधन गर्दै उनले एमालेले सामना गरिरहेको विषम परिस्थितिमा ओलीको नेतृत्व नै उपयुक्त र आवश्यक रहेको स्पष्ट पारिन् ।

उनका अनुसार आसन्न ११ औं राष्ट्रिय महाधिवेशन पार्टी र देश दुवैका लागि दिशानिर्देशक बन्ने भएकाले नेतृत्व चयनबारे अनावश्यक बहस गर्नु उचित हुने छैन । ‘पार्टीलाई जोगाउन र स्थिरताबाट अघि बढाउन अहिले ओलीजीको विकल्प खोज्ने बेला होइन’, अर्यालले भनिन्, ‘एमालेमा ओलीको विकल्प अहिले पनि ओली नै हुन् ।’

अर्यालले महाधिवेशनले ओलीलाई पुनः अध्यक्षका रूपमा अनुमोदन गर्ने विश्वास व्यक्त गर्दै वर्तमान राजनीतिक संकटले पार्टीभित्र सुदृढ एकता र आन्तरिक समन्वयको आवश्यकता झनै बढाएको औंल्याइन् । उनका अनुसार देश गम्भीर राजनीतिक अनिश्चितताबाट गुज्रिरहेको समय एमालेमाथि भइरहेको ‘चौतर्फी प्रहार’ को सामना गर्न पार्टी एकबद्ध, सक्षम र सबल बन्नैपर्ने छ । संविधान ‘कोमामा पुगेको’ भाषिक चित्र प्रस्तुत गर्दै उनले राष्ट्रियता जोगाउन प्रभावकारी, स्थायी र उत्तरदायी नेतृत्व जरुरी रहेको बताइन् ।

पार्टीभित्र सहमतिमै नेतृत्व निर्माण गर्नुपर्नेमा जोड दिंदै उनले ओलीकै अध्यक्षतामा सर्वसम्मत नेतृत्व टुंगिने दाबी पनि गरिन् । पार्टी पंक्तिबाट अराजनीतिक, अस्वस्थ र संगठनविरोधी अभिव्यक्ति नआओस् भन्दै संयमता र एकताको आग्रह समेत उनले गरेकी छन् । उनका अनुसार अध्यक्ष ओलीको अनुभव, संकट व्यवस्थापन क्षमता तथा संगठनात्मक प्रभावकारिताले नै मुलुकलाई अहिले आवश्यक दिशानिर्देश प्रदान गर्न सक्छ, र यही कारणले महाधिवेशनबाट पनि ओलीकै नेतृत्वलाई निरन्तरता मिल्नेछ ।

पोखराको पुरुन्चौर चुरुंगामा दाइँ महोत्सव (तस्बिरहरू)

काठमाडौँ । पोखरा महानगरपालिका–१९ पुरुन्चौर चुरुंगामा दाइँ महोत्सव गरिएको छ । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा पर्यटन परिषद्को आयोजनामा दोस्रो संस्करणमो दाइँ महोत्सव गरिएको हो ।

कृषिमार्फत आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन, कृषकलाई प्रोत्साहन र नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न विधाका प्रतियोगिता आयोजना गरिएको छ ।

महोत्सवमा उत्कृष्ट गोरू पालक प्रतियोगिता, उत्कृष्ट धान उत्पादक प्रतियोगिता, धान चुट्ने दँदेरो प्रतियोगिता, परालको भारी बाँध्ने प्रतियोगिता र गुन्द्री बुन्ने प्रतियोगितासहित दँदेरालाई टोपी वितरण र अतिथिलाई स्थानीय उपहार वितरण कार्यक्रम समावेश गरिएको छ ।

पोखरा भ्रमणमा रहेका विदेशी पर्यटकलाई दाइँ महोत्सवको अनुभव गरेका छन् ।

सरकारलाई दुर्गा प्रसाईको चेतावनी : हाम्रा माग पुरा नभए चुनाव हुँदैन

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सरकारले आफूहरुको माग सम्बोधन नगरे फागुन २१ गते घोषणा गरिएको चुनाव हुन नसक्ने चेतावनी दिएका छन् ।

शनिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले शुक्रबार गृहमन्त्री ओम प्रकाश अर्यालसँग भएको संवादपछि आगामी मंसिर २२ गते प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने मिति तय भएको जानकारी दिएका छन् ।

प्रसाईंले आफूलाई गृहमन्त्रीले वार्ताका लागि बोलाएको र प्रधानमन्त्री पनि आफूले उठाएका मागप्रति सकारात्मक रहेको दाबी गरेका । उनले भने, ‘गृहमन्त्री ज्यूले बोलाउनु भयो, प्रधानमन्त्रीको तर्फबाट पनि मेरा मागहरू जनजीविकाका सवालमा महत्वपूर्ण छन् भन्ने सन्देश आएको छ । मेरो स्वास्थ्यमा केही समस्या देखिएकाले उपचार र विश्रामपछि २२ गते वार्तामा बस्ने सहमति भएको छ ।’

आफूले उठाएका मागहरू आफ्नो व्यक्तिगत नभई देश, जनता र सर्वहारा वर्गको भएको भन्दै प्रसाईंले यी माग पूरा नभए पुनः कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले प्रधानमन्त्रीको टेबलसम्म आफ्ना माग पुग्नुलाई सकारात्मक रूपमा लिएको बताए । उनले आफ्ना माग सम्बोधनका लागि सरकार तयार नभए फागुन २१ गते घोषणा भएको चुनाव हुन नसक्ने चेतावनी समेत दिए । उनले भने, ‘दुर्गा प्रसाईले आन्दोलन रोकिहाल्यो भनेर ढुक्क नपर्नुस्, माग पुरा नभए चुनाव हुन दिंदैनौं कसरी गर्नु हुन्छ चुनाव ?’

आगामी मंसिर २२ गते प्रधानमन्त्रीसँग वार्ताको मिति तय भएको जानकारी दिँदै प्रसाईंले यदि उक्त वार्ताबाट निकास ननिस्किए आफूहरु आन्दोलनमा उत्रिने बताए । पत्रकार सम्मेलनका क्रममा फागुन २१ गतेको समय सीमा र सम्भावित राजनीतिक घटनाक्रमबारे सोधिएको प्रश्नमा प्रसाईंले भने, ‘फागुन २१ गते सरकारले चाह्यो भने हुन्छ, चाहेन भने चुनावै हुँदैन । सरकारले चाह्यो भने जनमत संग्रह पनि हुन्छ ।’ प्रसाईंले व्यक्तिको परिवर्तनले मात्र समस्या समाधान नहुने भन्दै अहिलेको व्यवस्था नै खराब रहेको दाबी गरे ।

हेर्नुस् यस्ता छन् प्रसाईंका माग ?
१. वित्तीय संस्था, सहकारी र लघुवित्तबाट कालो सूचीमा परेका साना तथा ठूला व्यवसायी र यातायात व्यवसायीहरूलाई तत्काल कालो सूचीबाट हटाउनुपर्ने। साथै, बैंकले सकार्ने गैर–बैंकिङ सम्पत्तिहरूको बेचबिखन हाललाई रोक्नुपर्ने र ऋणीलाई थप कालो सूचीमा राख्न नपाइने ।
२. अर्को व्यवस्था नभएसम्म बैंक तथा वित्तीय संस्थाहरूले ३५ दिने लिलामीको सूचना प्रकाशित गर्न नपाउने ।
३. यातायात व्यवसायीका गाडीहरू बैंकले तानेर थन्क्याउँदा बिग्रिने अवस्थामा पुगेको भन्दै ऋण पुनर्संरचना गरेर व्यवसायीलाई नै गाडी चलाउन दिनुपर्ने ।
४.लघुवित्त र सहकारीका कर्मचारीहरू घर–घरमा गएर पैसा उठाउने र मानसिक तनाव दिने कार्य तत्काल बन्द गर्नुपर्ने ।
५. काठमाडौं उपत्यकामा रहेका भूमिहीन सुकुम्बासी र कवाड व्यवसायीहरूलाई दीर्घकालीन विकल्प नदिएसम्म उनीहरूको व्यवसाय र बासस्थानमा डोजर चलाउन नपाइने ।
६. जेनजी विद्रोह र प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्नुपर्ने, झुटा मुद्दा फिर्ता लिनुपर्ने र थप पक्राउ गर्न नपाइने ।

७. बैंक र व्यवसायी एउटै घरानाको हुँदा स्वार्थ बाझिएको भन्दै यसलाई कानुनी रूपमै छुट्याउनु पर्ने (बैंकरले व्यवसाय गर्न नपाउने, व्यवसायीले बैंक चलाउन नपाउने) ।
८. सेना, प्रहरी, जवान र निजामती कर्मचारीको तलब हाललाई कम्तीमा २० हजार रुपैयाँले वृद्धि गर्नुपर्ने ।
९. कारागारमा रहेका कैदी बन्दीको सिदा (रासन) भत्ता महँगी अनुसार अहिले अपुग भएकोले दैनिक ९६ रुपैयाँबाट बढाएर २०० रुपैयाँ पुर्‍याउनु पर्ने । साथै जेलभित्र काम गर्ने बन्दीलाई बिदाको सुविधा दिनुपर्ने ।
१०. हिन्दू अधिराज्य, प्रदेश खारेजी र राजसंस्थाको विषयमा जनमत संग्रह गरिनु पर्ने ।
प्रसाईंले यदि आफूहरुको माग पूरा नभए देशमा चुनाव हुन नसक्ने चेतावनी दिए । उनले भने, ’यी मागहरू पूरा भएनन् भने ८४ को चुनाव ८२ मा गराउने सपना नदेख्दा हुन्छ । माग पूरा नभए आन्दोलन रोकिँदैन ।’
उनले आफू व्यक्तिगत रूपमा ब्ल्याकलिस्टमा नपरेको र आफ्नो ६० बिघा जग्गा तथा सम्पत्ति भएको बताउँदै गरिब र निमुखा जनताका लागि सडकमा आएको जिकिर गरे ।

देउवासँग आज पनि कार्यवाहक सभापति र दुई महामन्त्रीको छलफल

काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी महाधिवेशनलाई लिएर उत्पन्न भएको विवाद चुलिँदै जाँदा पार्टी सभापति शेरबहादुर देउवा लगातार तेस्रो दिन पनि शीर्ष पदाधिकारीसँग गहन छलफलमा जुटेका छन् । नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन बोलाउने भन्ने निर्णयमा मतैक्य नजुटेपछि देउवा पक्ष र महामन्त्रीहरूबीच संवादको शृङ्खला झन् तीव्र बन्दै गएको छ ।

शनिबार दिउँसो २ बजे देउवाको महाराजगञ्जस्थित निवासमै कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा तथा विश्वप्रकाश शर्मासहित पदाधिकारीहरूबीच फेरि छलफल बस्नेछ । २८ असोजदेखि जारी केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका निष्कर्षमा पुर्‍याउन नसकेपछि समस्या समाधानलाई शीर्ष तहकै संवादमार्फत टुंग्याउने प्रयास भइरहेकामा यद्यपि ठोस सहमति बन्न सकेको छैन ।

देउवा पक्ष नेताहरू प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन गरेर पार्टीलाई ‘अव्यवस्थित’ बनाउनु नहुने तर्क राख्दै आएका छन् । तर सभापति देउवा भने पुसभित्रै नियमित महाधिवेशन गर्न सकिने पक्षमा देखिएका छन् । उता दुई महामन्त्रीले समय अभावका कारण नियमित महाधिवेशन गर्न नसकिने परिस्थिति आए विशेष महाधिवेशन अपरिहार्य हुने जिकिर गरिरहेका छन् ।

शुक्रबारको छलफलमा देउवा नेताहरूबीचको अनावश्यक तानातानप्रति रोष प्रकट गरेको एक पदाधिकारीले बताएका छन् । उनका अनुसार देउवाले आफू नेतृत्व छाड्न तयार भइसकेको अवस्थामा पनि नेताहरू ‘नियमित कि विशेष’ भन्ने नाममा विभाजित हुनु खेदजनक भएको टिप्पणी गरेका थिए । पुस मसान्तभित्र महाधिवेशन सक्ने संकल्पसहित अगाडि बढ्नु पर्ने उनको जोड रहेको स्रोत बताउँछ । लगातार तीन दिनदेखि चल्दै आएको संवादले अब समाधानतर्फ उन्मुख भएको दाबी समेत पदाधिकारीहरूको छ । शनिबारभित्रै सहमति टुंग्याउने विश्वास उनीहरूले व्यक्त गरेका छन् ।

काठमाडौंबाट नजिकै रहेको ‘लाङटाङ पदमार्ग’ (तस्बिरहरू)

काठमाडौं। ‘लाङटाङ पदमार्ग’ काठमाडौंबाट नजिकैको पदमार्ग हो । यहाँबाट मनमोहक हिमशृङ्खलाको अवलोकन  गर्न सकिन्छ ।

असोज र कार्तिक  महिना पदयात्राको लागि राम्रो सिजन मानिन्छ । यही सिजनमा  यो पदमार्गमा विदेशीहरू भन्दा बढी नेपालीहरू  भेटिन्छन् ।

लाङटाङ खोला सँगसँगै अघि बढ्छ लाङटाङ पदमार्ग बीचबीचमा भेटिने अनुपम झरना, हिमश्रृङ्खलाले पदमार्गमा यात्रा गर्ने पर्यटकहरूलाई आकर्षित गरी रहेको हुन्छ।

काठमाडौंबाट नजिक पर्ने पदमार्ग भएकाले पनि आन्तरिक पर्यटकको भिड लाग्ने गरेको हो । नजिकैबाट प्राकृतिक सौन्दर्य अवलोकन र अनुभूत गर्नका लागि लाङटाङ पदमार्ग प्रसिद्ध रहेको छ ।

क्यामेराका लेन्सले  सुन्दर हिमाल, झरना, नदीनाला र प्राकृतिक सौन्दर्य  कैद गर्दै यात्रा गर्नु यस पदमार्गको अर्को पक्ष रहेको छ ।

‘एकैपटक आधा दर्जन हिमशृङ्खलाहरूको अवलोकन गर्न पाइने,  क्यान्जी गुम्बाबाट वरिपरि हिउँले ढाकेका हिमाल हेर्न पाइयो र सहज पदमार्ग र बसोबासका लागि पर्याप्त होटलहरू भएकाले पनि यस पदमार्गमा आन्तरिक र बाह्य पर्यटकहरूको आवागमन उस्तै देखिन्छ ।

काठमाडौंबाट जानका लागि भने बालाजु माछापोखरीबाट सार्वजनिक यातायात वा निजी सवारीसाधनमा जान सकिन्छ ।

माछापोखरीमा बिहान ६ बजेदेखि ९ बजेसम्म सार्वजनिक बस पाइन्छ । बालाजु, कलंकी, थानकोट, गल्छी, नुवाकोट धुन्चे हुँदै ६–७ घण्टामा स्याफ्रुबेँसी पुगिन्छ । त्यसपछि सुरु हुन्छ पैदलयात्रा ।

स्याफ्रुबेँसीबाट ३ घण्टाको पैदल यात्रापछि ब्याम्बोमा बास बस्न सकिन्छ । तर, समय रहेमा लामा होटल वा रिभरसाइडमा गएर बास बस्दा उपयुक्त हुन्छ ।

भोलिपल्ट उकाली ओराली गर्दै लाङटाङ वा क्यान्जिङ गुम्बा पुगिन्छ । यात्रामा लाङटाङ खोलाले साथ छोड्दैन । पहाडको चेपबाट झरिरहेका झरना, चराचुरुङ्गीको चिरबिरचिरबिर आवाजले मन शान्त बनाउँछ ।

यसरी अर्को दिन बिहानै क्यान्जिङ उपत्यकाबाट क्याजिङ री जान सहज हुन्छ । कतिपय भने क्यान्जिङ पुगेपछि यलापिक अथवा सेर्गोरीतर्फ जाने गर्दछन् ।

पोखराविरूद्ध लुम्बिनीले जित्यो टस, दुबै टोलीमा यी खेलाडी परिवर्तन

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शनिबार) को पहिलो खेलमा पोखरा एभेन्जर्सविरूद्ध लुम्बिनी लायन्सले टस जितेको छ । दुई टोलीबीच बिहान साढे ११ बजे खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ रोजेपछि पोखरा एभेन्जर्सले ब्याटिङ गर्ने भएको हो ।

लुम्बिनीले अघिल्लो खेलबाट आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । पोखराले भने दुई खेलाडी परिवर्तन गरेको छ । लुम्बिनीका थोमस ड्राकाको स्थानमा निरोसन डिकोवेल्ला सुरुवाती ११ मा आएका छन् । पोखराको आकाश चन्द र डेनियल डाउथवेट आजको खेलमा बेन्चमा छन् । उनीहरूको स्थानमा अविशेष तिवारी र म्याट टेलर सुरुवाती ११ मा आएका छन् । दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ । लुम्बिनीले ४ खेल खेलिसक्दा पोखराले ३ खेल खेलेको छ । दुवैले एक–एक खेल मात्रै जितेका छन् ।

लुम्बिनी लायन्सको कप्तानको जिम्मेवारी रोहित पौडेलले सम्हालेका छन् । यस टोलीमा रोहित पौडेल (कप्तान), दिनेश अधिकारी, समीर अली, तिलकराज भण्डारी, थोमस ड्राका, अभिषेश गौतम, दुर्गेश गुप्ता, सन्दीप जोरा, आदिल खान, सुमित महर्जन, शेर मल्ल, गुलबदीन नाइब, दिलीप नाथ (विकेटकिपर), विशाल पटेल, डार्सी सर्ट, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान छन् ।

पोखरा एभेन्जर्स कप्तानी कुशल भुर्तेलले गर्नेछन् । टोलीका खेलाडीहरूमा कुशल भुर्तेल (कप्तान), आकाश चन्द, सन्दीप क्षेत्री, त्रित राज दास, डान डाउथवेट, सागर ढकाल, दिनेश खरेल, विपिन खत्री, अर्जुन कुमाल, जेम्स नीशम, कृष्ण पौडेल, रेमन राइफर, एडम रोसिङ्टन (विकेटकिपर), जेसन रोय, किरण ठगुन्ना र अभिषेक तिवारी छन् ।

अमेरिकाले रोक्यो विदेशीलाई शरण दिनेसम्बन्धी सबै निर्णय

काठमाडौं । अमेरिकाले विदेशी नागरिकलाई शरण दिनेसम्बन्धी फैसलामा रोक लगाउने घोषणा गरेको छ । वाशिङटन डीसीमा नेशनल गार्डका दुई सदस्यमाथि भएको गोली प्रहारको घटनापछि ट्रम्प प्रशासनले विदेशी नागरिकलाई शरण दिनेसम्बन्धी सबै फैसलामा रोक लगाउने घोषणा गरेको हो ।

अमेरिकी नागरिकता एवं आप्रवासन सेवा (यूएससीआईएस) का निर्देशक जोसेफ एडलोले एक्समा पोस्ट गरेर यसबारे जानकारी दिएका छन् । एडलोले पोस्टमा भनेका छन्, ‘अमेरिकी नागरिकको सुरक्षा सधैँ सबैभन्दा पहिलो आउँछ ।’

राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो विश्वका देशका अमेरिका आउन नदिने अभिव्यक्ति दिएको केही घण्टापछि एडलोले शरण नदिने सम्बन्धी घोषणा गरेको बीबीसीले जनाएको छ । बुधबार वाशिङटन डीसीमा ह्वाइट हाउस नजिकै नेशनल गार्डका दुई सदस्यमाथि गोली प्रहार भएको थियो । गोलीबाट गम्भीर घाइते भएकामध्ये एक गार्डको मृत्यु भएको थियो । यस घटनामा संलग्न रहेको आशंकामा अफगान नागरिकलाई पक्राउ गरिएको छ ।

सर्वोच्चलाई राष्ट्रपतिको जवाफ : कार्की सरकार गठन ओलीको सिफारिसमा आधारित

काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठनको विवाद चुलिँदै गएको बेला राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमा पठाएको लिखित जवाफ सार्वजनिक भएको छ । राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको निर्णय तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै लिखित सिफारिस र सहमतिमा आधारित रहेको स्पष्ट पारिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट पठाइएको जवाफमा संविधानको मर्मअनुसार, असाधारण परिस्थितिमा राजनीतिक स्थिरता र राष्ट्रिय एकता मजबुत बनाउन चुनावी सरकार गठन गरिएको उल्लेख छ । राष्ट्रपति कार्यालयका सचिव डा. दीपक काफ्लेले सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा राजनीतिक दलहरू र सरोकारवालासँग व्यापक परामर्श गरेर राष्ट्रपतिले आफ्नो संवैधानिक अधिकार प्रयोग गरेको भनिएको छ ।

प्रधानमन्त्री ओलीले भने आफूले कार्कीलाई प्रधानमन्त्री बनाउने सिफारिस गरेको दाबीलाई बारम्बार अस्वीकार गर्दै आएका छन् । उनले सरकार गठन प्रक्रिया नै संवैधानिक हैसियतविहीन रहेको तर्क गर्दै सर्वोच्च अदालतमा चुनौती दिएका छन् ।

तर राष्ट्रपति कार्यालयले भने कार्की नेतृत्वको सरकार गठनको उद्देश्य ६ महिनाभित्र नयाँ प्रतिनिधिसभा निर्वाचन गराउने तयारीलाई सहज बनाउनु रहेको स्पष्ट गरेको छ । ओलीको लिखित सहमति बिना यस्तो संवैधानिक कदम चालिन नसक्ने भन्दै कार्यालयले प्रतिवेदनमा उल्लेख गरेको स्रोतहरूको भनाइ समावेश गरिएको छ ।

यस विषयमा सर्वोच्च अदालतमा दायर १६ वटा रिटको एकै पटक सुनुवाइ हुँदैछ । संसद विघटन र चुनावी सरकार गठन दुवैको कानुनी वैधता के हो भन्ने विवादमा संवैधानिक इजलासले १२ कात्तिकमा सबै सरोकारवालाबाट लिखित जवाफ मागेको थियो ।

पत्रकार आचार्यको दुर्घटनामा मृत्यु

सुर्खेत । कालिकोटका पत्रकार वीरेन्द्र आचार्यको सवारी दुर्घटनामा मृत्यु भएको छ । उनी प्रेस सेन्टर नेपाल कालिकोटका अध्यक्ष समेत हुन् ।रेडियो तिला आवाजका स्टेसन म्यानेजर आचार्य चढेको स्कुटरलाई सुर्खेतको वीरेन्द्रनगर–२ वडा कार्यालय अगाडि शुक्रबार साँझ मोटरसाइकलले ठक्कर दिएको थियो ।

मुलपानीबाट भुरेलीतर्फ गइरहेको यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकलले आचार्य चढेको स्कुटरलाई ठक्कर दिएको प्रहरीले बताएको छ । दुर्घटनामा गम्भीर घाइते आचार्यको उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार शाही पनि घाइते छन् । टाउको र शरीरका विभिन्न भागमा चोट लागेको शाहीको स्वास्थ्य मध्यम छ ।

नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रवादी शक्तिमाथि प्रहार जारी रहेको दाबी गरेका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत उनले मुलुक संकटमा भएको अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक भएको बताएका हुन् ।

उनले एकताबद्ध भएर अगाडि बढ्दा संकट पार लाग्ने बताए। ‘मुलुक संकटमा छ, राष्ट्रवादी शक्तिमाथि प्रहार जारी छ ।’ महासचिव पोखरेलले भने, ‘यस्तो अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ । अघि बढौं–सम्भव छ ।’

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मंसिर २७–२९ गते काठमाडौं उपत्यकामा हुँदैछ । महाधिवेशनका लागि आज एकै दिन देशभर प्रतिनिधि चयन हुँदैछ । एमालेले सकेसम्म सर्वसम्मत र सहमति हुन नसकेका स्थानमा मतदानमार्फत प्रतिनिधि चयन गर्दैछ ।

दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ अभियान’ का संयोजक दुर्गा प्रसाईंले आज (शनिबार) पत्रकार सम्मेलन गर्दैछन् ।
यसअघि हिजो प्रसाईंले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका थिए । सिंहदरवारमा भएको उक्त भेटवार्ता यही मंसिर २२ गते फेरि छलफलमा बस्ने गरी टुङ्गिएको संयोजक प्रसाईंले जानकारी दिएका छन् ।

उनले भने, ‘मुख्य गरी हाम्रो मागका विषयमा छलफल भयो, अब मंसिर २२ गते फेरि छलफल गर्ने सहमति भएको छ ।’ संयोजक प्रसाईंले गृहमन्त्री अर्यालसँगको वार्तामा भएका विषय र अन्य समसामयिक विषयमा आज पत्रकार सम्मेलनमार्फत जानकारी दिने बताएका थिए ।

पूर्व सांसद गंगा थारु आफ्नै गाउँमा कुटिइन्

रुपन्देही । पूर्व सांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छन् । बाटोसम्बन्धी विवादका क्रममा उनीमाथि गाउँकै महिलाहरुले कुटपिट गरेको बताइएको छ ।

राप्ती गाउँपालिका–७ मा छलफलको क्रममा थारुले एक महिलामाथि जाइलागेपछि पूर्व सांसद थारुमाथि अन्य महिलाले लछारपछार गर्दै कुटपिट गरेको स्रोतले जानकारी दिएको छ ।

आफूमाथि कुटपिट तथा हातपात गर्नेहरुलाई कानुनी कारबाहीको माग गर्दै मुद्दा दर्ता गर्ने चेतावनी पूर्व सांसद चौधरीले दिएकी छन् । सांसद बन्नकै लागि कहिले थरुहट पार्टी त कहिले एमाले पार्टीमा पुग्ने उनी अहिले राजावादी आन्दोलनमा सक्रिय छन् ।

गंगाले भनिन्, ‘माओवादी कार्यकर्ताले कुटेका हुन्, मैले चिनेको छु सबैलाई, बाटोमा समस्या समाधान गर्न गएकी थिएँ, घुँडामा चोट लागेको छ, मंगलसुत्र लुटेर लगेका छन्, प्रहरीमा जाहेरी दिएकी सिसहनियामा अस्थायी प्रहरी चौकीमा उजुरी दिएकी छु ।’

प्रहरी चौकी सिसनियामा वरिष्ठ असई रकमबहादुर खड्काले जग्गाको सीमाना विवादमा गंगा र छिमेकीबीच विवाद भएको र हात हालाहाल भएको घटनामा दुवै पक्षबाठ ठाडो निवेदन आएको जनाए ।

नेकपाको आज दाङमा एकता सन्देश सभा

रूपन्देही । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज (शनिबार) लुम्बिनी प्रदेशअन्तर्गत दाङको देउखुरीस्थित लमहीमा एकता सन्देश सभा गर्दैछ ।

नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय बमोजिम आज यहाँ कार्यक्रम गर्न लागिएको हो । शुक्रबार धनगढीमा एकता सन्देश सभा गरेको थियो । आजको सभालाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, भीम रावल, वर्षमान पुनलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

लमही बजारभित्र बगैँचामा हुने कार्यक्रमको तयारी तीव्र बनाइएको आयोजकले बताएको छ । प्रदेशका विभिन्न जिल्लाबाट नेता–कार्यकर्ता आउने क्रम जारी छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित दर्जन घटक मिलेर बनेको नेकपाले सांगठानिक गतिविधिलाई देशव्यापी रूपमा अभियानमा लगेको छ ।

देशैभरबाट आज एमाले महाधिवेशन प्रतिनिधि छानिँदै

काठमाडौं । नेकपा एमालेको आसन्न महाधिवेशन नजिकिँदै गर्दा देशभरका संगठनहरू आज प्रतिनिधि चयन प्रक्रियामा जुटेका छन् । केही जिल्लामा सर्वसम्मतिको आधारमा प्रतिनिधि टुंगो लागिसकेको छ भने धेरै स्थानमा उम्मेदवार संख्या तोकिएको कोटाभन्दा बढी भएपछि निर्वाचनमार्फत छनौटको तयारी भएको छ ।

शुक्रबार साँझसम्म सर्वसम्मत चयनका लागि केन्द्रीय नेतृत्वबाट अन्तिम प्रयासका निर्देशन दिइएका थिए । सहमति नजुटेपछि आज निर्वाचनबाटै प्रतिनिधि छान्न स्थानीय कमिटीहरू अग्रसर भएका छन् । संगठन विभागले केही दिनअघि नै ५ बुँदे निर्देशन जारी गर्दै प्रतिनिधि चयनको समय सार्न नपाइने र शनिबारभित्रै प्रक्रिया सम्पन्न गर्नुपर्ने स्पष्ट गरिसकेको थियो ।

महाधिवेशनका लागि छानिनुपर्ने प्रतिनिधिको नामावली पठाउने अन्तिम म्याद सोमबार निर्धारित छ । अहिले एमालेका ६ लाख ६७ हजार ६३० संगठित सदस्यबाट करिब २२ सय महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । यस पटक प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक युवा प्रतिनिधि अनिवार्य समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ, जसले महाधिवेशनमा नयाँ पुस्ताको सहभागिता बढाउने अपेक्षा गरिएको छ ।

देशभरका जिल्ला, पालिका र तल्ला संगठनमा आजको दिन प्रतिनिधि छनौट प्रक्रिया अत्यन्तै व्यस्त र निर्णायक बन्न पुगेको छ । महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा, सहमतिको प्रयास र निर्वाचन प्रक्रियाले एमाले संरचनामा चहलपहल थपिएको छ ।

बसिरको उत्कृष्ट ब्याटिङमा कर्णालीमाथि विराटनगरको रोमाञ्जक जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २ मा कर्णाली याक्समाथि विराटनगरले रोमाञ्चक जित हात पारेको छ । कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले एक बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

विराटनगरका लागि बसिर अहमदले उत्कृष्ट ब्याटिङ गरे । बसिर ४३ बलमा ६२ रन बनाएर अविजित रहे । लोकेश बम ६, जर्ज मुन्से ०, साम हिजलेट १६, शाहिल पटेल १९, मार्चेन्ट डि लिङ २, नारायण जोशी २५ र प्रतिश जिसी ६ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ६ रनमा अविजित रहे ।

बलिङमा कर्णालीका कप्तान सोमपाल कामी र गुल्सन झाले दुई÷दुई तथा पवन सरार्फ, नन्दन यादव र विलियम बोसिष्टोले एक÷एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६० रन बनायो । कर्णालीका लागि ओपनर प्रियांक पन्चालले सर्वाधिक ६३ रन बनाए । मार्क वाट ६ र गुल्सन झा २० रनमा आउट भए ।

विलियम वोसिष्टो ४८ र नजिबुल्लाह १२ रनमा अविजित रहे । बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र मार्चेन्ट डि लिङले एक÷एक विकेट लिए ।

अब कसरी सल्टेला कांग्रेसमा महाधिवेशनको ‘किचलो’ ?

काठमाडौं । नेपाली कांग्रेसभित्र महिनौंदेखि महाधिवेशन विवाद सुल्झिनुको सट्टा झनझन जटिल बन्दै गएको छ । सभापति शेरबहादुर देउवा स्वयं सक्रिय भएर नेताहरूलाई एक ठाउँमा ल्याउन खोजिरहे पनि न त सहमतिको सूत्र भेटिएको छ, न त असन्तुष्ट पक्षको अडान नै कमजोर भएको छ । उल्टै, संस्थापन र इतर पक्षबीचको दूरी झन बढेको छ । त्यसमाथि देउवा निकट नेताहरू नै दुई धारमा विभाजित हुँदा कांग्रेस नै सग्लो रहन्छ कि रहँदैन भन्ने चिन्ता बढाएको छ ।

देउवा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र आफू नजिकका अन्य नेतासँग निरन्तर छलफलमा छन् । सहमति नजुटेपछि आज उनले कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधि समेतलाई बोलाएर अर्को ‘रेस्क्यु डायलग’ प्रयास गरेका थिए । तर प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार कुनै टुंगो लागेको छैन-बरु देउवाले विशेष महाधिवेशन अस्वीकार गरिसकेको तथ्य मात्र स्पष्ट बन्दै गएको छ । महत भन्छन्, ‘अब हुनुपर्ने नियमित महाधिवेशन हो, विशेष महाधिवेशनको सम्भावना सकियो ।’

तर यही बिन्दुमै गगन–विश्व पक्ष कतै झुक्ने पक्षमा छैन । उनीहरू कार्यतालिका होइन–‘विशेष महाधिवेशन नै’ माग्दै अडानमा उभिएका छन् । देउवाले विशेष महाधिवेशन माग आत्मसात गर्न कार्यतालिका देखाएर समय धकेल्न खोजेको आशंका उनीहरूको छ । उनीहरू ठोकुवा गर्छन्–अब नियमित महाधिवेशनको गुञ्जायश टरेको छ, एक मात्र बाटो विशेष महाधिवेशन नै हो ।

यो रस्साकस्सीबीच देउवा निकट नेताहरूमै विभाजन देखिनु कांग्रेसका लागि अर्को समस्या भएको छ । चुनावअघि महाधिवेशनमा जान नसकिने भन्ने प्रमुख पदाधिकारीहरू एक छेउ उभिए भने, पहिलेदेखि महाधिवेशन माग्दै आएका २८ केन्द्रीय सदस्य अर्को छेउ । आज त उनीहरूले बानेश्वर र कुपण्डोलमा बेग्लाबेग्लै भेला गरी आ–आफ्नै निष्कर्ष निकाले । एकले ‘चुनावअघि महाधिवेशन असम्भव’ भने, अर्कोले ‘तुरुन्त मिति घोषणा गर’ भन्दै दबाब दिए ।

यसबीच, देउवा–गगन संवाद भने रोचक मोडमा पुगेको छ । महामन्त्री गगन थापाले देउवालाई दुई विकल्प दिएका छन्-‘कि ओलीझैं मैदानमा उत्रनुस्, नत्र ‘पिसफुल एक्जिट’ लिनुस् ।’ गगनले केपी ओलीको उदाहरण दिंदै भने, ‘ओली फ्रन्टमा उत्रे, महाधिवेशनमा पार्टीलाई लगे, अध्यक्षमा नै प्रतिस्पर्धा गर्दैछन् । तपाईंले त्यो मौका गुमाउनु भयो । अझै पनि मैदानमा आउन सक्नु हुन्छ-हामी प्रतिस्पर्धा गर्छौं ।’

उनले पर्दा पछाडि बसेर निर्णय रोकेकाले पार्टीलाई झनै जटिल बनाएको आरोप पनि लगाए । संवादमा गगनले ‘बटमलाइन’ प्रष्ट राखे-‘पुस २७ मा नियमित महाधिवेशन, नभए पुस २८ मा विशेष महाधिवेशन ।’ संस्थापन पक्षले भने विशेष महाधिवेशन नगर्ने आधारमा धेरै विकल्प राखे, तर गगन–विश्व पक्ष लचक नहुने पक्षमा देखिएका छन् ।

रविमाथि भएको अन्यायविरुद्ध लड्न रास्वपामा आएको हुँ : पूर्व एआईजी पोखरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पार्टी सभापति रवि लामिछानेमाथि भएको अन्यायविरुद्ध लड्न आएको बताएका छन् ।

आज रास्वपा प्रवेश गर्दै पोखरेलले सभापति लामिछानेको आदम्य साहस र उनीमाथि जनताले गरेको विश्वास देखेर आफूलाई रास्वपा प्रवेश गर्न प्रेरित गरेको बताएका छन् । उनले भने, ‘नेपाल प्रहरीमा २९ वर्षसम्म आफ्नो इमानमा बाँचेर काम गरेको मान्छे हुँ । कुनै पनि विषयमा बोल्न डराउँदिनँ । मैले रास्वपाका अध्यक्षमाथि जुन किसिमको अन्याय भएको छ । त्यो अन्यायको विरुद्ध म पनि यहाँ समाहित भएर लड्नु पर्छ भनेर आएको हुँ ।’

भदौ २४ गतेको जेनजी आन्दोलनमा मुलुक दनदनी बलिरहँदा पुराना पार्टीका नेताहरू दुलोभित्र पसेको तर रास्वपाका सभापति लामिछानेलाई जनताले काँधमा बोकेर बाहिर ल्याएको उनको भनाई थियो । रास्वपा प्रवेश गर्दै पोखरेलले मुलुकको समृद्धि र सुशासन कायम गर्ने पार्टी रास्वपा मात्रै भएको दावी गरे । उनले जनताको आशा र भरोसा बोकेको पार्टीको सदस्यता लिन पाउँदा आफूलाई खुशी लागेको पनि बताएका छन् ।

 

गृहमन्त्री अर्याल र दुर्गा प्रसाईंबीच वार्ता

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नागरिक बचाउ महाअभियानका संरक्षक दुर्गा प्रसाईंबीच वार्ता जारी छ । उनीहरूबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भइरहेको हो ।

सामाजिक शान्ति खलल गरेको आरोपमा प्रसाईंलाई यसअघि प्रहरीले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । तर सर्वोच्च अदालतले छाड्ने आदेश दिएपछि उनी छुटेका थिए । त्यसअघि उक्त अभियानले आन्दोलनको घोषणा पनि गरेको थियो ।

छुटे लगत्तै उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री अर्यालले आग्रहपछि आन्दोलन स्थगित भएको बताएका थिए । उनी मंसिर ७ गतेदेखि ७ दिन हिरासत बसेर निस्किएका हुन् । मंसिर ६ गते राति सरकार र प्रसाईंको अभियानका प्रतिनिधिबीच वार्ताबाट निकास खोज्ने सहमति भएको थियो ।