`

बसिरको उत्कृष्ट ब्याटिङमा कर्णालीमाथि विराटनगरको रोमाञ्जक जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २ मा कर्णाली याक्समाथि विराटनगरले रोमाञ्चक जित हात पारेको छ । कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले एक बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

विराटनगरका लागि बसिर अहमदले उत्कृष्ट ब्याटिङ गरे । बसिर ४३ बलमा ६२ रन बनाएर अविजित रहे । लोकेश बम ६, जर्ज मुन्से ०, साम हिजलेट १६, शाहिल पटेल १९, मार्चेन्ट डि लिङ २, नारायण जोशी २५ र प्रतिश जिसी ६ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ६ रनमा अविजित रहे ।

बलिङमा कर्णालीका कप्तान सोमपाल कामी र गुल्सन झाले दुई÷दुई तथा पवन सरार्फ, नन्दन यादव र विलियम बोसिष्टोले एक÷एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६० रन बनायो । कर्णालीका लागि ओपनर प्रियांक पन्चालले सर्वाधिक ६३ रन बनाए । मार्क वाट ६ र गुल्सन झा २० रनमा आउट भए ।

विलियम वोसिष्टो ४८ र नजिबुल्लाह १२ रनमा अविजित रहे । बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र मार्चेन्ट डि लिङले एक÷एक विकेट लिए ।

अब कसरी सल्टेला कांग्रेसमा महाधिवेशनको ‘किचलो’ ?

काठमाडौं । नेपाली कांग्रेसभित्र महिनौंदेखि महाधिवेशन विवाद सुल्झिनुको सट्टा झनझन जटिल बन्दै गएको छ । सभापति शेरबहादुर देउवा स्वयं सक्रिय भएर नेताहरूलाई एक ठाउँमा ल्याउन खोजिरहे पनि न त सहमतिको सूत्र भेटिएको छ, न त असन्तुष्ट पक्षको अडान नै कमजोर भएको छ । उल्टै, संस्थापन र इतर पक्षबीचको दूरी झन बढेको छ । त्यसमाथि देउवा निकट नेताहरू नै दुई धारमा विभाजित हुँदा कांग्रेस नै सग्लो रहन्छ कि रहँदैन भन्ने चिन्ता बढाएको छ ।

देउवा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र आफू नजिकका अन्य नेतासँग निरन्तर छलफलमा छन् । सहमति नजुटेपछि आज उनले कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधि समेतलाई बोलाएर अर्को ‘रेस्क्यु डायलग’ प्रयास गरेका थिए । तर प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार कुनै टुंगो लागेको छैन-बरु देउवाले विशेष महाधिवेशन अस्वीकार गरिसकेको तथ्य मात्र स्पष्ट बन्दै गएको छ । महत भन्छन्, ‘अब हुनुपर्ने नियमित महाधिवेशन हो, विशेष महाधिवेशनको सम्भावना सकियो ।’

तर यही बिन्दुमै गगन–विश्व पक्ष कतै झुक्ने पक्षमा छैन । उनीहरू कार्यतालिका होइन–‘विशेष महाधिवेशन नै’ माग्दै अडानमा उभिएका छन् । देउवाले विशेष महाधिवेशन माग आत्मसात गर्न कार्यतालिका देखाएर समय धकेल्न खोजेको आशंका उनीहरूको छ । उनीहरू ठोकुवा गर्छन्–अब नियमित महाधिवेशनको गुञ्जायश टरेको छ, एक मात्र बाटो विशेष महाधिवेशन नै हो ।

यो रस्साकस्सीबीच देउवा निकट नेताहरूमै विभाजन देखिनु कांग्रेसका लागि अर्को समस्या भएको छ । चुनावअघि महाधिवेशनमा जान नसकिने भन्ने प्रमुख पदाधिकारीहरू एक छेउ उभिए भने, पहिलेदेखि महाधिवेशन माग्दै आएका २८ केन्द्रीय सदस्य अर्को छेउ । आज त उनीहरूले बानेश्वर र कुपण्डोलमा बेग्लाबेग्लै भेला गरी आ–आफ्नै निष्कर्ष निकाले । एकले ‘चुनावअघि महाधिवेशन असम्भव’ भने, अर्कोले ‘तुरुन्त मिति घोषणा गर’ भन्दै दबाब दिए ।

यसबीच, देउवा–गगन संवाद भने रोचक मोडमा पुगेको छ । महामन्त्री गगन थापाले देउवालाई दुई विकल्प दिएका छन्-‘कि ओलीझैं मैदानमा उत्रनुस्, नत्र ‘पिसफुल एक्जिट’ लिनुस् ।’ गगनले केपी ओलीको उदाहरण दिंदै भने, ‘ओली फ्रन्टमा उत्रे, महाधिवेशनमा पार्टीलाई लगे, अध्यक्षमा नै प्रतिस्पर्धा गर्दैछन् । तपाईंले त्यो मौका गुमाउनु भयो । अझै पनि मैदानमा आउन सक्नु हुन्छ-हामी प्रतिस्पर्धा गर्छौं ।’

उनले पर्दा पछाडि बसेर निर्णय रोकेकाले पार्टीलाई झनै जटिल बनाएको आरोप पनि लगाए । संवादमा गगनले ‘बटमलाइन’ प्रष्ट राखे-‘पुस २७ मा नियमित महाधिवेशन, नभए पुस २८ मा विशेष महाधिवेशन ।’ संस्थापन पक्षले भने विशेष महाधिवेशन नगर्ने आधारमा धेरै विकल्प राखे, तर गगन–विश्व पक्ष लचक नहुने पक्षमा देखिएका छन् ।

रविमाथि भएको अन्यायविरुद्ध लड्न रास्वपामा आएको हुँ : पूर्व एआईजी पोखरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पार्टी सभापति रवि लामिछानेमाथि भएको अन्यायविरुद्ध लड्न आएको बताएका छन् ।

आज रास्वपा प्रवेश गर्दै पोखरेलले सभापति लामिछानेको आदम्य साहस र उनीमाथि जनताले गरेको विश्वास देखेर आफूलाई रास्वपा प्रवेश गर्न प्रेरित गरेको बताएका छन् । उनले भने, ‘नेपाल प्रहरीमा २९ वर्षसम्म आफ्नो इमानमा बाँचेर काम गरेको मान्छे हुँ । कुनै पनि विषयमा बोल्न डराउँदिनँ । मैले रास्वपाका अध्यक्षमाथि जुन किसिमको अन्याय भएको छ । त्यो अन्यायको विरुद्ध म पनि यहाँ समाहित भएर लड्नु पर्छ भनेर आएको हुँ ।’

भदौ २४ गतेको जेनजी आन्दोलनमा मुलुक दनदनी बलिरहँदा पुराना पार्टीका नेताहरू दुलोभित्र पसेको तर रास्वपाका सभापति लामिछानेलाई जनताले काँधमा बोकेर बाहिर ल्याएको उनको भनाई थियो । रास्वपा प्रवेश गर्दै पोखरेलले मुलुकको समृद्धि र सुशासन कायम गर्ने पार्टी रास्वपा मात्रै भएको दावी गरे । उनले जनताको आशा र भरोसा बोकेको पार्टीको सदस्यता लिन पाउँदा आफूलाई खुशी लागेको पनि बताएका छन् ।

 

गृहमन्त्री अर्याल र दुर्गा प्रसाईंबीच वार्ता

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नागरिक बचाउ महाअभियानका संरक्षक दुर्गा प्रसाईंबीच वार्ता जारी छ । उनीहरूबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भइरहेको हो ।

सामाजिक शान्ति खलल गरेको आरोपमा प्रसाईंलाई यसअघि प्रहरीले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । तर सर्वोच्च अदालतले छाड्ने आदेश दिएपछि उनी छुटेका थिए । त्यसअघि उक्त अभियानले आन्दोलनको घोषणा पनि गरेको थियो ।

छुटे लगत्तै उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री अर्यालले आग्रहपछि आन्दोलन स्थगित भएको बताएका थिए । उनी मंसिर ७ गतेदेखि ७ दिन हिरासत बसेर निस्किएका हुन् । मंसिर ६ गते राति सरकार र प्रसाईंको अभियानका प्रतिनिधिबीच वार्ताबाट निकास खोज्ने सहमति भएको थियो ।

 

पाटन दरबार क्षेत्रमा हप्तामा २ दिन सवारीसाधन चलाउन नपाइने

काठमाडौँ । ललितपुर महानगरपालिकाले शनिबारदेखि साताका २ दिन पाटन सम्पदा क्षेत्रलाई सवारीसाधन मुक्त (भेहिकल फ्री) घोषणा गरेको छ ।

मेयर चिरिबाबु महर्जनका अनुसार ‘पाटन पाइलै पाइलामा’ भन्ने अभियान अन्तर्गत गाडी छिर्न नदिने निर्णय गरिएको छ । भेहिकल फ्री कार्यक्रम चरणबद्ध विस्तार गरिने समेत उनले जानकारी दिए । उनले हरेक नगरवासीसँग सहयोगको अपेक्षा गरिएको समेत बताए ।

पहिलो चरणमा शनिबार र बुधबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सवारीसाधन रोकिने भएको छ । यसलाई लगातार दुई महिना परीक्षण गरी थप समय र दिन विस्तार गरिने समेत महानगरले जनाएको छ ।

पहिलो चरणमा १३, १७ र २० मंसिरमा सवारी रोकिँदै छ । सोही महिना २४ र २७ गते भने बिहान ८ देखि राति ७ बजेसम्म सवारी रोकिने छ ।

दोस्रो चरणमा ५, ९ र १२ पुसमा गाडी निषेध गरिने छ । सोही महिनाको १६ र १९ गते बिहान ८ देखि राति ७ बजेसम्म सवारी रोकिने भएको छ ।

महानगरका अनुसार आकस्मिक सेवाका सवारीसाधन बाहेक सबै सवारी रोकेर यस क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना हुने भएका छन् ।

 

 

स्वास्थ्य मन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेटघाट भएको छ ।

मन्त्रालयमा भएको भेटका क्रममा दुई देशबीचको ऐतिहासिक र अतुलनीय मित्रता रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा विद्यमान द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

भेटमा मन्त्री गौतमले नेपाल–भारतबीचको सम्बन्ध गहिरो रहेको र स्वास्थ्य क्षेत्रमा भारतले गरेको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरिन्। साथै उनले मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा, राष्ट्रिय औषधि प्रयोगशालाको परीक्षण क्षमता अभिवृद्धि र प्रवासमा रहेका नेपाली श्रमिकको स्वास्थ्य सुधार मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताईन् ।

राजदूत श्रीवास्तवले भारत–नेपाल सम्बन्धको महत्व दोहोर्याउँदै राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नतिका लागि भवन निर्माण, आवश्यक उपकरण र जनशक्तिको तालिममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य

काठमाडौं । ओपनर प्रियांक पन्चालको अर्धशतकप्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १६० रनको योगफल खडा गरेको हो ।  कर्णालीका ओपनर पन्चालले सर्वाधिक ६३ रन बनाए । उनले ४७ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । प्रतियोगितामा पन्चालको यो दोस्रो अर्धशतक हो । पन्चालले यसअघि चितवन राइनोजविरुद्ध ९० रन बनाएका थिए ।

२३–१ को स्थितीबाट पन्चालले विलियम बोसिस्टोसँग ९६ रनको साझेदारी गर्दै कर्णालीको इनिङ सम्हालेका थिए । बोसिस्टो ४८ रनमा अविजित रहे । उनले ४८ बलमा दुई चौका प्रहार गरे ।

एनपीएलको दोस्रो संस्करणमा शतक बनाउने पहिलो ब्याटर बनेका मार्क वाट भने आजको खेलमा ६ रनमै पभेलियन फर्किए । गुल्सन झाले १० बलमा २०० को स्ट्राइकरेटसहित २० रन बनाए । उनले दुई चौका र एक छक्का प्रहार गरे ।

विराटनगरका मर्चेन्ट डी लिंगे र कप्तान तथा मार्की सन्दीप लामिछानेले समान एक विकेट लिए ।

कर्णालीको यो चौथो खेल हो । कर्णालीले यसअघि चितवन राइनोजसँग चार विकेटको हार बेहोरेको थियो । यस्तै, कर्णालीले लुम्बिनी लायन्सलाई नौ विकेटले पराजित गर्दा सुदूरपश्चिम रोयल्सविरुद्ध ४५ रन र चितवन राइनोजसँग चार विकेटको हार व्यहरेको छ ।

यता विराटनगरको भने पाँचौँ खेल हो । विराटनगरले यसअघि पहिलो, दोस्रो र तेस्रो खेलमा क्रमशः पोखरा एभेन्जर्सलाई ५३ रन, काठमाण्डू गोर्खाजलाई पाँच विकेट र जनकपुर बोल्ट्सलाई नौ रनले पराजित गरेको थियो । तर, चौथो खेलमा चितवन राइनोजसँग ४८ रनले पराजित भएपछि टिमको अपराजित यात्रामा ब्रेक लागेको थियो ।

एनपीएलमा दोहोरो अर्धशतक प्रहार गर्ने तेस्रो खेलाडी बने प्रियांक

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा दाहोरो अर्धशतक हान्ने तेस्रो खेलाडी कर्णाली याक्सका प्रियांक पञ्चाल बनेका छन् । सिजनको १६ औं खेलमा उनले विराटनगर किङ्ग्सलाई लक्ष्य प्रस्तुत गर्ने क्रममा अर्धशतक पूरा गरेका हुन् ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको कर्णालीबाट पञ्चालले ४२ बलमा ५० रन बनाए । उनले यसक्रममा चार चौका र एक छक्का प्रहार गरे । प्रतियोगिताको दोस्रो संस्करणमा पन्चालको यो दोस्रो अर्धशतक हो । पन्चालले यसअघि चितवन राइनोजविरुद्ध ९० रन बनाएका थिए ।

उनी जारी सिजनको दोस्रो सर्वाधिक रन जोड्ने ब्याटर पनि हुन् । दोहोरो अर्धशतक प्रहार गर्ने पोखरा एभेन्जर्सका कुशल भुर्तेल हुन् ।

पोखराका कप्तान कुशलको नाममा छटौं र १० औं अर्धशतक छ । छटौं खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध कुशलले एनपीएलको १० औं अर्धशतक प्रहार गर्न ३२ बलमा ५३ रन जोडे ।

त्यस्तै, सिजनमा व्यक्तिगत तेस्रो अर्धशतक प्रहार गर्ने खेलाडी चितवनका रवि बोपारा हुन् । उनको नाममा सिजनको तेस्रो, आठौं र ११ औं अर्धशतक छ ।

जारी सिजनमा शतक प्रहार गर्ने एक मात्रै खेलाडी कर्णाली याक्सका मार्क वाट हुन् । सातौं खेलमा उनले लुम्बिनी लायन्सविरुद्ध जवाफी ब्याटिङ गर्ने क्रममा ४४ बलमा अविजीत ११४ रन बनाए । उनी यो सिजनको सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् ।

नेपाली कम्युनिष्ट पार्टीलाई पहिलो शक्ति बन्नबाट कसैले रोक्न सक्दैन: संयोजक प्रचण्ड

 काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीलाई पहिलो शक्तिबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

शुक्रवार धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले सो दाबी गरे । उनले आफूहरु निर्वाचनमा केन्द्रित भइसकेको उल्लेख गर्दै देशभर नेकपालाई पहिलो शक्तिको रुपमा स्थापित गर्न एकतावद्ध भएर लाग्न नेता कार्यकर्ताहरुलाई आह्वान समेत गरे।

आफूहरु उमेरले ७० वर्ष कटेपनि जेन-जेड पुस्ताभन्दा कम सक्रिय नरहेको टिप्पणी गरे। संयोजक दाहालले सुदूरपश्चिमलाई समृद्ध प्रदेशका रूपमा रुपान्तरण गर्न पार्टी पूर्ण रूपमा प्रतिवद्ध रहेको पनि बताए ।

उनले भने, ‘उमेरले ७० कटेपनि हामी जेनजीभन्दा कम सक्रिय छैनौं । हामी जेनजीभन्दा कम खटेका छैनौं । अब सुदूरपश्चिममा नेपाली कम्युनिष्ट पार्टीलाई एक नम्बर बनाउन कसैले रोक्नै सक्दैन । यो पार्टीलाई एक नम्बर बनाएर नयाँ इतिहास रच्ने अवसर गुम्न नदिनुहोला । सुदूरपश्चिमलाई समृद्ध सुदूरपश्चिम बनाउन हामी कुनै कसर बाँकी राख्ने छैनौं ।’

उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग पार्टी प्रतिवद्ध रहेको पनि बताए ।

 

‘मिसन २०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण सामग्री हस्तान्तरण

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जापानमा आयोजना हुन लागेको २०औँ एसियाली खेलकुदका लागि खेलाडीहरूलाई प्रशिक्षण सामग्री (किट) हस्तान्तरण गरेको छ ।

स्वर्णसहित दोहोरो अङ्कको पदक लक्ष्य राखेर अघि बढाइएको ‘मिसन २०२६’ कार्यक्रमअन्तर्गत आज कभर्ड हलमा आयोजित कार्यक्रममा राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले खेलाडीहरूलाई किट हस्तान्तरण गरे ।

सदस्य–सचिव घिसिङले खेलाडीहरूलाई आवश्यक प्रशिक्षण सामग्री प्रदान गर्दै आगामी एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी बनाइने बताए ।

उनका अनुसार खेलकुद संरचना, प्रविधि र वैज्ञानिक प्रशिक्षण प्रणालीलाई सुदृढ गर्दै नेपालले २०२६ को खेल मञ्चमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखिएको बताए ।

कार्यक्रममा प्रशिक्षक, खेलाडी तथा राखेपका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

पूर्व एआइजी पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश (तस्बिरहरु)

काठमाडौँ । नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।

पार्टी कार्यालय बनस्थलीमा शुक्रबार भएको एक कार्यक्रममा पोखरेल रास्वपा प्रवेश गरेका हुन् ।

पोखरेलले २०७७ मंसिर २५ गते एआइजी भएर २०७९ साउन २ गते पदबाट राजीनामा दिएका थिए । पोखरेललाई रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले पार्टीमा स्वागत गरे ।

१५ वाम घटक मिलाएर रेकर्ड बनाइसक्यौं, हाम्रो ध्यान एमालेतिर पनि छ : प्रचण्ड

कैलाली । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १५ वाम घटकलाई एक ठाउँमा ल्याएर नयाँ रेकर्ड बनाएको बताएका छन् । सुदूरपश्चिमको धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले वामपन्थी एकताको आवश्यकतामा जोड दिँदै भने, ‘हाम्रो ध्यान एमालेतिर पनि छ । एमालेभित्रका सबै वामपन्थी, देशभक्त र क्रान्तिकारीहरूलाई पनि यही पार्टीमा केन्द्रित हुनुपर्छ भन्ने हाम्रो दृढ मान्यता हो । सबैलाई अट्न सक्ने भएकाले नेपाली कम्युनिष्ट पार्टी गठन गरेका हौं ।’

प्रचण्डले अब पार्टीमा कुनै माओवादी वा एकीकृत समाजवादी नछुटेको दावी गरेका छन् । उनले एमालेभित्र रहेका क्रान्तिकारी कार्यकर्ताहरूलाई गहिरो रुपमा सोच्न र एकताबद्ध भएर अघि बढ्न आग्रह गरे । धनगढीमा पहिलो पटक आयोजित सन्देश सभामा प्रचण्डले आर्थिक व्यवस्थापनको चुनौती समेत औंल्याए । उनले भने, ‘आजको सभा पहिले जस्तै ठूलो रकम खर्च गरेर आयोजना गर्न नसकिएकाले जनताको उपस्थिति कम हुन सक्छ भन्ने चिन्ता थियो । विगतमा यस्ता सभामा ठूलो खर्च हुन्थ्यो, तर यस पटक केन्द्रबाट कुनै रकम पठाउन सकिएन।’

उनले सुरक्षा व्यवस्थालाई पनि चुनौतीपूर्ण बताएका छन् । ‘धनगढीमा केही दिनअघि अन्य पार्टीका कार्यक्रममा व्यवधान आएको खबर हामीले सामाजिक सञ्जालबाट देखेका थियौं । तर यहाँका नेता–कार्यकर्ताले ती सबै चुनौतीहरूको बलियो उत्तर दिनुभयो र सभा सफल बनाउनु भयो’, प्रचण्डले भने । नेपाली कम्युनिष्ट पार्टीले देशका सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने योजना बनाएको छ ।

 

एमालेका यी सात पदाधिकारी ओलीको पक्षमा उभिए

काठमाडौं । नेकपा एमालेका सात वरिष्ठ पदाधिकारीहरूले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई निरन्तरता दिनुपर्ने पक्षमा उभिएका छन् । आज (शुक्रबार) भएको अनौपचारिक छलफलपछि उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्यालले सामूहिक निर्णय गरेका हुन् ।

स्रोतका अनुसार, यी नेताहरूले मुलुकमा विद्यमान संकटपूर्ण परिस्थितिलाई ध्यानमा राख्दै पार्टी एकताको पक्षमा योगदान गर्न सबैसँग आग्रह गरेका छन् । छलफलमा सहभागी एक नेताका अनुसार, उनीहरूले नेतृत्व निर्माणका लागि सर्वसम्मतीको पहल गर्ने र सहमतिमा आधारित स्वस्थ प्रतिस्पर्धा सुनिश्चित गर्ने निर्णय पनि गरेका छन् । एमालेको आगामी ११औँ राष्ट्रिय महाधिवेशनलाई मध्यनजर गर्दै यी सात पदाधिकारीले अध्यक्ष ओलीको नेतृत्वमा सक्षम केन्द्रीय कमिटी निर्माण गर्न योगदान दिने निष्कर्ष निकालेका छन् ।

उनीहरूले दुवै पक्ष—ओली र ईश्वर पोखरेलसँग नियमित छलफलमा रहेर सहमतिमा आधारित नेतृत्व निर्माणको औचित्य कायम रहेको पनि बताएका छन् । नेताहरूले पार्टीमा अराजनीतिक वा अस्वस्थ अभिव्यक्तिहरू नदिन दुवै पक्षलाई आग्रह गर्ने सहमति पनि गरेका छन् । यसरी उनीहरूले एमालेभित्रको मध्यमार्गी र एकताप्रतिको दृष्टिकोणलाई बल दिँदै, पार्टीको सुदृढीकरण र राष्ट्रिय नेतृत्वको स्थायित्व सुनिश्चित गर्न आफ्नो भूमिका निर्वाह गर्ने योजना तय गरेका छन् । यस निर्णयसँगै, अध्यक्ष ओलीको नेतृत्वलाई बल पुगेको छ भने पार्टीभित्र सहमति र स्वस्थ प्रतिस्पर्धा कायम राख्ने प्रयास पनि जारी रहने देखिन्छ ।

हङकङको दशकौँको सबैभन्दा घातक आगलागी, ९४ जनाको मृत्यु

एजेन्सी। हङकङमा दशकौँपछि भएको सबैभन्दा भीषण आगलागीका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबार ९४ पुगेपछि बेपत्ता आफन्त खोज्दै असह्य पीडा बीच परिवारजन अस्पताल-अस्पताल धाइरहेका छन् । उत्तरी ताई पो जिल्लास्थित वाङ फुक कोर्टमा बुधबार दिउँसो लागेको आगो केही मिनेटमै द्रुत गतिमा फैलिँदै आठवटै आवासीय भवनलाई ३६ घण्टाभन्दा बढी समयसम्म जलेका खण्डहरमा रूपान्तरित गरिदियो ।

अधिकारीहरूले आगलागीको कारणबारे प्रारम्भिक अनुसन्धान सुरु गरेका छन्, जसमा भवनहरूलाई घेरेर निर्माणाधीन बाँसको मचान र प्लास्टिकको जाल सुरक्षाका लागि जोखिमकारक भएको आशंका गरिएको छ । शुक्रबार बिहानसम्म खोज तथा उद्धार टोलीले जलेका भवनहरूबाट लगातार कालो झोलामा शवहरू निकालिरहेका थिए । एएफपीका प्रतिनिधिहरूले छोटो समयमै धेरै शव निकालिएको देखेको उल्लेख गरेका छन् ।

थुप्रै परिवारका सदस्यहरू अझै बेपत्ता रहेकाले सारासिनहरू अस्पतालमा भीड बढिरहेको छ । सा टिन अस्पतालमा भेटिएकी ३८ वर्षीया महिला ‘वोङ’ आफ्नी बहिनी र उनकी जुम्ल्याहा बहिनीको खोजीमा रुँदै ‘अहिलेसम्म कुनै जानकारी पाउन सकिएन, हामी दिनदिनै विभिन्न अस्पताल पुगिरहेछौँ’ भन्दै दुःख व्यक्त गरिन् ।

अस्पतालहरूमा ५० जनाभन्दा बढी उपचाररत छन्, जसमा १२ जनाको अवस्था अत्यन्त गम्भीर र २८ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताए । प्रत्यक्षदर्शीहरूका अनुसार आगो एक भवनमा लागेको केही मिनेटमै अर्को-अर्को ब्लकमा फैलिएको थियो ।

अग्नि सेवाले एस्टेटका सबै फ्ल्याटहरूमा प्रवेश गरी खोजी कार्य सकिने बताएको छ । शुक्रबार बिहान पनि परिसरबाट सेतो धुवाँ निस्किरहेकाले आगलागीको पूर्ण नियन्त्रणमा समय लागेको देखिन्थ्यो । करिब दुई हजार एकाइमध्ये केहीमा मात्र आगो नियन्त्रणमा आएको थियो ।

सन् १९४८ पछि हङकङमा भएको यो सबैभन्दा घातक आगलागी हो । त्यसबेला कम्तीमा १३५ जनाको मृत्यु भएको थियो । पछिल्ला वर्षमा सुरक्षा उपाय कडा बनाइएकाले यस्ता दुर्घटना धेरै कम भएका भए पनि यस प्रकरणले पुनः सुरक्षा प्रणालीबारे कठोर प्रश्न उठाएको छ ।

यसैबीच, भ्रष्टाचार विरोधी निकायले परिसरमा भइरहेको नवीकरण कार्यको अनियमितता बारे अनुसन्धान सुरू गरेको छ । प्रहरीका अनुसार आगलागीको सम्भावित कारण बन्नसक्ने तरल सामग्री लापरवाहीपूर्वक छोडिएको आशंकामा तीन जनालाई पक्राउ गरिएको छ । केही बासिन्दाले आगो लाग्दा फायर अलार्म नबजेको र घर-घर दौडेर आफूहरूलाई एक-आपसमा चेतावनी दिनुपरेको गुनासो गरेका छन् ।

हङकङ सरकारले पीडित सहयोगका लागि ३० करोड हङकङ डलरको राहत कोष स्थापना गरेको छ । प्रभावितहरूका लागि अस्थायी आवास, आपतकालीन सहयोग, निःशुल्क मनोवैज्ञानिक परामर्श तथा स्वास्थ्य सहायता उपलब्ध गराइएको छ ।

अनेक समुदायले सहयोग अभियान सञ्चालन गरिरहेका छन् । नजिकैका सार्वजनिक चोकमा कपडा, खाना, औषधि र दैनिक आवश्यक वस्तुहरूका केन्द्र स्थापना गरिएको छ । सहयोग यति धेरै आएपछि आयोजकहरूले थप राहत सामग्री हाललाई आवश्यक नभएको अपिल गर्नुपरेको थियो ।

माधव नेपालको निर्देशन : संकटमा प्रचण्ड र मैले खेलेको भूमिका जनतासम्म पुर्‍याउनुस्

धनगढी । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले पार्टी नेता–कार्यकर्तालाई आफू र प्रचण्ड प्रधानमन्त्री भएका समयमा गरेका कामदेखि हालसम्म खेलिएको राजनीतिक भूमिकालाई जनतामाझ पुर्‍याउन निर्देशन दिएका छन् । धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले नयाँ पुस्तालाई सही राजनीतिक दिशा दिन नेताहरूले आफ्ना कामबारे पारदर्शी रूपमा जनतासामु जानुपर्ने बताए ।

पूर्व प्रधानमन्त्री नेपालले विशेषतः जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संकटका क्षणहरू स्मरण गर्दै आफू र प्रचण्ड राष्ट्रपति कार्यालयमै बसेर रातभर देशलाई जोगाउने प्रयासमा सक्रिय रहेको दाबी गरे । उनले भने, ‘राष्ट्रपतिले हामीलाई सम्झनु भयो, अरू नेताहरूको अत्तोपत्तो थिएन । हामी पुग्यौं, देशलाई संकटबाट जोगाउन भूमिका खेल्यौं ।’

उनले हालका प्रधानमन्त्रीलाई पनि निष्पक्ष चुनाव गराउन प्रोत्साहन प्रदान गरिएको उल्लेख गर्दै सबै नेता एउटै ढर्राका नभएको, राम्रो सोच र काम गर्ने नेतृत्व पनि देशमा रहेको स्पष्ट पार्न आग्रह गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै उनले आफू मात्रको प्रशंसा चाहने प्रवृत्तिले राजनीतिमा नकारात्मक प्रभाव पार्ने टिप्पणी गरे । सुदूरपश्चिममा आफ्नो पार्टी पहिलो शक्ति बन्ने विश्वास समेत व्यक्त गरे ।

सोही सभामा नेपालले आफ्नो पार्टीले स्वच्छ राजनीतिको मार्गचित्र तयार पारिसकेको उल्लेख गरे । वर्तमान दलहरूमा दलालीकरण, ठेकेदारीकरण, व्यापारीकरण, भ्रष्टीकरण र अपराधीकरण हावी भएकाले देश कुशासन र भ्रष्टाचारको चपेटामा परेको उनको तर्क थियो ।
‘अहिले देशमा कुशासन र भ्रष्टाचार व्याप्त छ । यसलाई अन्त्य गर्ने जिम्मा हाम्रो पार्टीले लिनेछ’, उनले भने, ‘राजनीतिमा लाग्नेहरूमा इमानदारी, समर्पण र देश बनाउने हुटहुटी नहुँदा विकास थिलथिलो भएको हो । हामीलाई देश र जनताको चिन्ता छ, त्यसैले स्वच्छ राजनीतिको नेतृत्व हामीले गर्नुपर्छ ।’

नेपालले एकीकृत पार्टी बनेपछि सबै नेताले सबैको कामको प्रचार गर्नुपर्नेमा जोड दिए । उनका अनुसार जनतामा सकारात्मक सन्देश पुर्‍याउन र देशलाई सही दिशामा डोर्याउन नेतृत्वको सामूहिक भूमिकाबारे जानकारी फैलाउनु आवश्यक छ । उनले नयाँ पुस्ता-विशेषतः जेन जेडलाई निराशाबाट उठाएर सकारात्मक राजनीतिक सहभागितातर्फ प्रेरित गर्न पनि पार्टी प्रतिबद्ध रहेको बताए ।

जेन्जी आन्दोलनका सहिद ‘पठाओ’ गरेरै आमाको उपचार गराउँथे बुढाथोकी

दोलखा । दोलखाको बिगु गाउँपालिका–३ बुलुङकी दिलकुमारी बुढाथोकीको बाँच्ने आधार नै टुटेको छ । स्तन क्यान्सर भएका कारण आमाको उपचारका लागि पठाओ चलाएर खर्च जुटाउँदै आएका महेश बुढाथोकीको जेन्जी आन्दोलनमा निधन भएपछि पुत्रशोकले दिलकुमारीका आँखा ओभानो छैनन् भने अब उनको उपचार खर्च जुटाउने आधार पनि समाप्त भएको छ ।

छोरा बितेपछि आमा दिलकुमारी हरेक रात र दिन रोएर बित्ने गरेको छ । उनी भन्छिन‍्, “छोरा कतिबेला आमा भन्दै छोरा आउँछ झैँ लाग्छ, बितेको विश्वास लाग्दैन ।”

‘पठाओ’ गरेर क्यान्सर भएकी आफ्नी आमाको उपचारको खर्च जुटाउँदै आएका २२ वर्षीय महेशको गत भदौ २४ गते कोटेश्वरमा नेपाल प्रहरीको गोली लागेर मृत्यु भएको थियो । महेशका बुबा केशव भन्छन्, “छोराले १२ उत्तीर्ण सकेको थियो, युरोप जाने सपना देखेको थियो, युरोपको माल्टा जाने भनेर ५० हजार रूपैयाँ मेनपावरलाई बुझाएको पनि थियो र अहिले फुर्सद भएको समयमा आमाको उपचारलाई खर्च जोहो गर्न पठाओ चलाउने गथ्र्याे तर छोराको न युरोपको सपना पूरा भयो, न आमाको उपचार पूरा गर्ने सपना पूरा भयो, हाम्रो त सबैथोक सकियो, बेसहारा भयौँ ।”

महेशका बुबा केशव १० वर्षअघि दोलखाको दुर्गमगाउँ बुलुङबाट आफ्नो कलिला दुई छोराहरूको सुनौलो भविष्य बोकेर काठमाडौँमा छिरेका थिए । गहभरि आँसु पार्दै उनी भन्छन्, गाउँमा बाँदर र भालु आतङ्कले बस्ने अवस्था भएन, जति खेती किसान गर्दा पनि परिवार पाल्न धौधौ भएपछि काठमाडौँ आइयो । तर आज यो अवस्था देख्नुपर्यो ।’’ आफू अनपढ भए पनि भारी बोक्दै छोरालाई १२ कक्षासम्म पढाएको बताउँदै उनी भन्छिन्, “अब म बा आमालाई सुख दिन्छु भन्थ्यो, अब युरोप जान्छु धेरै पैसा कमाउँछु अनि काठमाडौँमा घरघडेरी किन्छु भन्ने यसका ती सबै कुरा सपना जस्तै हराएर गए ।”

हाल केशव काठमाडौँको सुकेधारास्थित एक ग्यास डिपोमा ग्यास झार्ने र चढाउने काम गर्छिन् । उनको महिनाको रु १५ हजार तलबले न काठमाडौँको ठाउँमा परिवार पााल्न पुग्छ न छोराछोरी पढाउन नै । उनी भन्छन्, “घरको मियो भाँचियो, अब कसको साहाराले बाँच्ने ? श्रीमती पनि बिरामी छिन्, उनको उपचार खर्च कसरी जुटाउने ? अर्काे छोरा सानै छ ।”

भदौ २४ गतेको दिन स्मरण गर्दै दिलकुमारी भन्छिन‍्, ‘‘एक हजार लिएर आमा म स्कुटी सर्भिसिङ गरेर आउँछु है भनेर गएको थियो तर छोरा फर्केन, छोराको श्वास भेट्न सकिन्छ कि भनेर आफैं किष्ट मेडिकल कलेज पुगेँ, त्यो बेला यसको निधन भइसकेको रहेछ ।’’ उनी भन्छिन‍्, ‘‘घरको सबै काम गर्ने उही महेश थियो । लुगाधुने, खाना पकाउने, औषधि ल्याउने, खुवाउने काम गर्न रमाउँथ्यो ।’’ अहिले पनि छोरासहित बसेको घरमा बस्न गाह्रो भएपछि छोराको याद कम होला कि भनेर केशवको परिवार केही पर कोठा सरेर बसेको छ ।

मृतक महेशले नै आफ्नै भाइलाई २३ गतेको आन्दोलनमा धेरै मान्छे मरेको र २४ गते झन् समस्या हुनसक्ने र काम गर्न नजानु भन्दै २३ गते बेलुकी सम्झाएको बुबा केशव बताउँछन् । उनी भन्छन‍्, ‘‘भाइलाई सम्झायो तर आफूले छोडेर गयो । म बिहानै काम गर्न जाने भएकाले त्यस दिन छोरासँग भेट हुन पाएन एकैपटक छोरा मरेको खबर पाएँ, मैले केही सोच्न सकिनँ ।’’

महेशको कोटेश्वरमा प्रहरीको गोली लागेपछि मृत्यु भएकै अवस्थामा एक स्थानीय व्यापारीले उनलाई किस्ट मेडिकल कलेज लगेका थिए । छोरा अस्पतालमा छ भन्ने खबर पाएलगत्तै महेशका बुबा आन्दोलनका कारण गाडी नचलेकाले सुकेधाराबाट तीन घण्टा लामो हिँडेर किस्ट मेडिकल अस्पताल पुगेका थिए, उनी पुग्दा महेशको मृत्यु भइसकेको थियो । बुढाथोकी परिवारलाई राज्यले रु १५ लाख दिएको भए पनि अन्य कतैबाट खासै सहयोग र सद्भाव पनि नआएको उनको भनाइ छ ।

भीम रावलको चेतावनी : हेलिकप्टरबाट भाग्नेहरूलाई अब जनताले जवाफ दिनेछन्

कैलाली । नेपाली कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले आगामी निर्वाचनलाई लक्षित गर्दै पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कटाक्ष गरेका छन् । पार्टीको सुदूरपश्चिमस्तरीय एकता सन्देश सभालाई शुक्रबार सम्वोधन गर्दै उनले ‘जनतामा धम्की र डर फैलाउने शैली अपनाउने नेताहरूबाट सचेत हुनुपर्ने समय आएको’ बताएका हुन् ।

रावलले जेनजी आन्दोलनका बेला तात्कालीन प्रधानमन्त्री ओलीले सुरक्षा परिषद्को बैठक पनि बोलाउन नसकी बालुवाटारबाट हेलिकप्टर चढेर भागेको दाबी गर्दै अहिले भने भक्तपुरमा बसेर जनता धम्क्याइरहेको आरोप लगाए । उनले भने, ‘भक्तपुरको कुनामा बसेर जनतालाई थर्काउनेहरूलाई अब रोक्ने जिम्मा जनताकै हो, नेपाली कम्युनिस्ट पार्टी त्यसका लागि तयार छ ।’

नेता रावलले अन्तरिम सरकारलाई निशाना बनाउँदै चुनावका लागि निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्न ‘बाहिर रहेका गोली–गठ्ठा’ तत्काल नियन्त्रणमा लिन आग्रह गरे । उनले जेनजी र युवाहरूको आन्दोलनका वास्तविक आवाजलाई पार्टीले राजनीतिक दस्तावेज र कार्यनीतिमा समेट्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

यसै क्रममा उनले आगामी प्रतिनिधिसभा निर्वाचन-फागुन २१ वा अन्य कुनै मितिमा-जो पनि तय भए, नेपाली कम्युनिष्ट पार्टी देशको ‘प्रमुख राजनीतिक शक्ति’ बन्ने विश्वास व्यक्त गरे । सुदूरपश्चिम प्रदेशका विकास चुनौती र जनसमस्यामा पार्टी जिम्मेवारीपूर्वक उभिने आश्वासन दिँदै उनले भने, ‘सिचाँइ आयोजना, नदी व्यवस्थापन, कृषि, रोजगारी-सबै क्षेत्रमा हामी दृढतापूर्वक तपाईहरूको साथमा रहनेछौं ।’ रावलले विगतमा पनि जनताले नेकपालाई ठूलो विश्वास दिएको तर सो विश्वास जोगाउने जिम्मा केपी ओलीले निर्वाह गर्न नसकेको आरोप समेत लगाए । अब उनले जनभावनालाई मूल केन्द्रमा राखेर पार्टी एकीकृत शक्ति रूपमै अघि बढ्ने बताए ।

 

चार वर्षे कार्यकाल पूरा गरी बिदा भए राखेपका सदस्य सचिव घिसिङ (तस्बिरहरु)

काठमाडौं।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ तथा राखेप बोर्ड सदस्यहरूको सम्मानसहित बिदाइ गरिएको छ ।

नेपाल सरकारले २०७८ साल मंसिर १३ गते नियुक्त भएका उनी आफ्नो चार वर्षे कार्यकाल पूरा गरी बिदा भएका छन् ।

टंकलाल घिसिङ तथा राखेप बोर्ड सदस्यहरू बिदाइ आज काठमाडौंस्थित त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा गरिएको थियो ।

र उक्त कार्यक्रम मा ‘मिशन–२०२६’ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडीहरूलाई किट्स वितरण  समेत गरिएको थियो ।

कर्णाली याक्सले पहिले ब्याटिङ गर्दै, बिराटनगरको टोलीमा तीन खेलाडी परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्दैछ । कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै विराटनगर किंग्सलाई बलिङको निम्तो दिएका हुन् । कर्णालीले यसअघिको खेलबाट एक परिवर्तन गरेको छ । विकेटकिपर ब्याटर अर्जुन घर्तीको ठाउँमा ब्याटर दीपक डुम्रेलाई पहिलो रोजाइमा खेलाएको छ । विराटनगरले भने ३ परिवर्तन गरेको छ ।

सूर्य तामाङ, नरेन भट्ट र सुशभ रन्जानेको ठाउँमा साहिल पटेल, सुवाश भण्डारी र शेहान जयासूर्यलाई राखिएको छ । विराटनगर किंग्स ४ खेलमा ३ मा जित र एकमा हार व्यहोर्दै ६ अंकका साथ दोस्रो स्थानमा छ । कर्णाली ३ खेलमा २ मा हार र एकमा जित निकाल्दै २ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।

कर्णाली याक्सको टोली –सोमपाल कामी, पवन सर्राफ, दिपक डुम्रे, नन्दन यादव, विपिन शर्मा, युवराज खत्री, गुल्सन झा, मार्क वाट, विलियम वसिस्टो, नजिबुल्लाह जड्रान र प्रियांक पञ्चाल।

विराटनगर किंग्सको टोली –सन्दीप लामिछाने, प्रतिश जिसी, लोकेश बम, बसिर अह्मद, नारायण जोशी, सुवास भण्डारी, साहिल पटेल, सेहान जयसूर्य, हेनरी जर्ज मुन्से, साम हिजलेट र मर्चेन्ट डि लाङगे ।

‘उज्यालो नेपाल पार्टी’ द्वारा निर्वाचनमा उम्मेदवार बन्न आवेदन आह्वान

काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनको उम्मेदवारका लागि खुला आवेदन आह्वान गरेको छ । सो पार्टीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिन चाहनेहरुले आगामी मंसिर २९ गतेभित्र आवेदन दिन आग्रह गरेको हो ।

निर्वाचनका लागि योग्य, सक्षम र स्वच्छ छवि भएका, देशको उज्यालो भविष्य निर्माणका लागि स्पष्ट मार्गचित्र कोर्न सक्ने व्यक्तिहरुबाट उम्मेदवारीको लागि २०८२ साल मंसिर २९ गतेसम्म खुला आवेदन आह्वान गरिएको पार्टीका प्रवक्ता डा. राजु थापाले जानकारी दिए ।
उनले भने, ‘उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि योग्य, सक्षम र स्वच्छ छवि भएका, देशको उज्यालो भविष्य निर्माणका लागि स्पष्ट मार्गचित्र कोर्न सक्ने व्यक्तिहरुबाट उम्मेदवारीको लागि २०८२ साल मंसिर २९ गतेसम्म खुला आवेदन आह्वान गर्दछ ।’

आवेदन दिँदा आफूले उठन चाहेको निर्वाचन क्षेत्र उल्लेख गर्न पनि सो पार्टीले भनेको छ । प्रवक्ता थापाले उम्मेदवारी दिँदा उज्यालो नेपाल बनाउने मार्गचित्रसहितको उम्मेदवारलाई प्राथमिकता दिइने बताए । उज्यालो नेपाल पार्टी मंसिर १७ गते औपचारिक रूपमा घोषणा हुने भएको छ । आज पत्रकार सम्मेलन गरेर १७ गते, दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रज्ञा भवन, कमलादी, काठमाडौंमा घोषणा सभा हुने जानकारी गराइएको हो । कार्यक्रमका प्रमुख अतिथि उर्जामन्त्री मन्त्री कुलमान घिसिङ रहने छन् । सो अवसरमा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गर्ने समेत जनाइएको छ ।

पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै आएका होइनौं । हामीसँग उज्यालो सपनालाई साकार पार्नसक्ने नेतृत्व, कार्यकुशलता र अनुभव छ । आम नेपाली जनताले विश्वास र भरोसा गरेको नेतृत्व छ । कुरा गरेर होइन, कामबाट प्रमाणित नेतृत्व छ ।’ उज्यालो नेपाल पार्टी, समान सोच र दृष्टिकोण भएका नयाँ तथा वैकल्पिक राजनीतिक दल, सङ्घ, संगठन, सरोकारवाला समूह र व्यक्तिहरूसँग सहकार्य गर्न इच्छुक रहेको जनाइएको छ । जेनजी आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी समृद्ध राष्ट्र निर्माणार्थ परिणाममुखी संवादमार्फत एकजुट हुन हार्दिक आह्वान गरेको छ ।

युद्धका बेला एक क्वीन्टलको बम खसाले पनि क्षति नहुने अण्डर ग्राउण्ड बनाएका थियौं : दाहाल

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अहिलेको उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रलाई टेकेर आएको बताएका छन् । आज (शुक्रबार) काठमाडौंमा पत्रकार दीपेन्द्र शर्माको युद्ध पत्रकारिता पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सशस्त्र द्वन्द्वताका पत्रकारिता गर्न धेरै कठिनाइहरु रहेको पनि स्मरण गरे ।

आफूले भारतमा रहेर नेपालको क्रान्तिका लागि पत्रकारिता गरेको समेत बताएका छन् । उनले अहिले सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर अघि बढ्न प्रेरित गरिरहेको बताए । युद्धताका मायाप्रसाद शर्मा जाजरकोटको जिल्ला इन्चार्ज रहेको र उक्त जिल्लामा आफूहरु लुक्नका लागि एक क्वीन्टलको बम खसालेको खण्डमा पनि क्षति नहुने गरी अण्डर ग्राउण्ड हल बनाएर बसेको बताए ।

उनले भने, ‘यहाँ नेपालमा वैधानिक ढंगले चलेका पत्रपत्रिका र पत्रकारलाई पनि ठूलो यातना दिइयो । दमन भएको थियो । यो सबैको वियोगबाट प्राप्त भएको नेपालको गणतन्त्र, संघीयता यी सबै विषयमा हामी आफूलाई यिनै उपलब्धीहरुको जगमा टेकेर अघि बढ्न प्रेरित गरिरहेको हुन्छ । त्यो प्रेरणा हामीले लिइरहनु पर्छ । त्यो क्रममा धेरै साथीहरुले ज्यान गुमाउनु भयो । राजनीतिक जीवनको यात्रामा राजनीतिक जिम्मेवारी लिए पनि दण्डपाणि न्यौपाने उहाँ पनि बेपत्ता हुनुभयो । हामी पारसमणि भन्थ्यौँ त्यो बेलामा अहिले मायाप्रसाद भनेर चिन्नुहुन्छ । उहाँ इन्चार्ज हुनुहुन्थ्यो त्यो जिल्लामा । त्यो बेलामा एक क्वीन्टलको बम माथिबाट खसाले पनि क्षति नहुने खालको अण्डर ग्राउण्ड हल बनाएका थियौँ ।’ अध्यक्ष दाहालले पुस्तक युद्ध पत्रकारिता युद्धको ऐना भएको जिकिर गरे ।

साताको शेयर बजारः कारोबार भएको पाँचै दिन बढ्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक लगातार पाँचै दिन बढेर उकालो लागेको छ । आइतबारदेखि बिहीबारसम्मको समग्र बजार सूचक चार दशमलवभन्दा बढीले वृद्धि भई दुई हजार ६७६ दशमलव ०३ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार साताभरि कुल छ करोड २९ लाख ९९ हजार ६०४ कित्ता शेयर रु ३२ अर्ब १७ करोड १३ लाख ३६ हजार १८९ बराबरमा कारोबार भएको छ । मङ्गलबारबाहेक सबै दिन कारोबार रकम रु छ अर्बभन्दा बढी रह्यो भने मङ्गलबारको कारोबार रु पाँच अर्बमा सीमित रह्यो ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से ३९ दशमलव ९२ अङ्कले बढेर दुई हजार ६०० दशमलव २२ विन्दुमा पुगेको थियो । सो दिन एक करोड २३ लाख ७६ हजार ४७१ कित्ता शेयर रु छ अर्ब १९ करोड १८ लाख ८० हजार ९९६ मा किनबेच भएका थिए । सामूहिक लगानी समूहबाहेक अधिकांश उपसूचक बढे । सागर डिस्टिलरी, बन्दीपुर केबलकार र झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लाग्दा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड सात दशमलव ५६ प्रतिशतले घटेर सर्वाधिक गुमाउने समूहमा प¥यो ।

त्यस्तै सोमबार नेप्से परिसूचक ५० दशमलव ४४ अङ्कले उकालो लागेर दुई हजार ६५० दशमलव ६६ विन्दुमा पुगेको थियो । त्यस दिन एक करोड ३१ लाख ७८ हजार ६७६ कित्ता शेयर रु छ अर्ब ९८ करोड तीन लाख ६६ हजार ७४३ मा कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्स रु २४ करोड ८१ लाख ५१ हजार ५४६ को कारोबारसहित शीर्ष स्थानमा रह्यो । झापा इनर्जीमा १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लाग्दा सागर डिस्टिलरी, बन्दीपुर केबलकार, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रोटेक इन्डस्ट्री लिमिटेडका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाए । मविलुङ इनर्जी लिमिटेड चार दशमलव ४४ प्रतिशतले घट्यो ।

मङ्गलबार नेप्से पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार ६५५ दशमलव ९९ विन्दुमा पुगेको थियो । त्यस दिन एक करोड १३ लाख ९९ हजार ४१० कित्ता शेयर रु पाँच अर्ब ७७ करोड २३ लाख ६७ हजार २९ मा कारोबार भयो । विकास बैङ्क, जीवन बीमा, सामूहिक लगानी कोष र व्यापार समूहका उपसूचक घटे भने अन्य समूह बढे । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै एक दशमलव ४१ प्रतिशतले उकालो लाग्यो ।

कारोबारको तेस्रो दिन बन्दीपुर केबलकार रु २६ करोड ९९ लाख ९७ हजार ६४९ को कारोबारसहित अग्रस्थानमा रह्यो । झापा इनर्जीमा पुनः १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लाग्दा सागर डिस्टिलरी र श्रीनगर एग्रोटेक इन्डस्ट्रीका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाए । जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड चार दशमलव ९६ प्रतिशतले घट्यो ।

त्यस्तै बुधबार नेप्से नौ दशमलव ६१ अङ्कले बढेर दुई हजार ६६५ दशमलव ६० विन्दुमा पुगेको थियो, जुन अघिल्लो दिनको तुलनामा शून्य दशमलव ३६ प्रतिशत वृद्धि हो । सो दिन एक करोड २३ लाख ३१ हजार ७९१ कित्ता शेयर ९० हजार ७८२ पटकको कारोबारमार्फत रु छ अर्ब ६३ करोड ३९ लाख ४८ हजार ९३६ मा किनबेच भयो । वित्त, लगानी, जीवन बीमा, सामूहिक लगानी कोष र निर्जीवन बिमा समूहका उपसूचक घटे भने अन्य उपसूचक बढे । होटल तथा पर्यटन समूह शून्य दशमलव ९९ प्रतिशतले वृद्धि भएको थियो ।

बुधबार एनआरएन इन्फ्रास्ट्रक्चर रु ६२ करोड ४३ लाख ४३ हजार २१५ बराबरको कारोबारसहित शीर्ष स्थानमा रह्यो भने झापा इनर्जीमा १० प्रतिशत वृद्धि भई पुनः सकारात्मक सर्किट लाग्यो । त्यस्तै सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, श्रीनगर एग्रोटेक, रिभरफल्स पावर र माहुली लघुवित्तका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाए भने बोटलर्स नेपाल (बालाजु) तीन दशमलव ९४ प्रतिशतले घट्यो ।

साताको अन्तिम दिन बिहीबार पनि नेप्से बढेर साताभरिको कारोबार सकारात्मक रह्यो । नेप्से १० दशमलव ४३ अङ्कले बढेर दुई हजार ६७८ दशमलव शून्य तीन विन्दुमा पुगेको थियो । बिहीबार कुल एक करोड ३७ लाख १३ हजार २५६ कित्ता शेयर रु छ अर्ब ५९ करोड २७ लाख ७२ हजार ४८३ मा कारोबार भयो ।

सागर डिस्टिलरीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दा स्वस्तिक लघुवित्त, श्रीनगर एग्रोटेक इन्डस्ट्री, झापा इनर्जी र एनआरएन इन्फ्रास्ट्रक्चरका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीको लाभ कमाए । हिमस्टार ऊर्जा कम्पनी सर्वाधिक घट्ने कम्पनी बन्यो । बैङ्किङ समूहको उपसूचक एक दशमलव ४९ प्रतिशतले बढेर सबैभन्दा बढी उकालो लाग्यो ।

बजार निरन्तर उकालो लागिरहेको अवस्थामा निकट भविष्यमा आउने मौद्रिक नीतिको समीक्षाले नेप्सेको गतिमा प्रभाव पार्ने देखिन्छ । हाल ब्याजदर न्यून र तरलता पर्याप्त भए पनि कर्जा विस्तार अपेक्षित रूपमा बढ्न सकेको छैन । यस्तो अवस्थामा लगानीकर्ताको मनोभाव मिश्रित देखिन्छ ।

यस्तोमा लगानीकर्ताको मनोबल बढाउन नियामक स्पष्टता, कर्जा विस्तारमा प्रोत्साहन, पुँजीबजारमैत्री प्रावधान आवश्यक रहेको विश्लेषकहरूको भनाइ छ । साथै आगामी निर्वाचनको वातावरण स्थिर र सकारात्मक बन्दै जाँदा आर्थिक गतिविधि बढ्ने र यससम्बन्धी नीति सकारात्मक भए यसले बजारमा मनोवैज्ञानिक ऊर्जा थप्ने जानकारहरू बताउँछन् ।

ब्याटिङमा चितवनको लय गुम्दा काठमाडौंको जित

काठमाडौं । काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा तेस्रो जित निकालेको छ । काठमाण्डूले शुक्रबार चितवन राइनोजविरुद्ध ५३ रनको सहज जित निकालेको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १४३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चितवन १७ ओभर १ बलमामा सबै विकेट गुमाउँदै ८९ रनमा समेटिएको हो ।

जारी सिजनमा चितवनको यो दोस्रो हार हो । यस टिमले अघिल्ला ३ खेलमा विराटनगरका बोल्टस् र कर्णाली याक्सलाई हराएको थियो भने लुम्बिनी लायन्ससँग जितेको थियो ।

काठमाडौंको यो तेस्रो जित हो । यो टिमले अघिल्ला ४ खेलमा लुम्बिनी लायन्स र जनकपुरसँग जितेको थियो । विराटनगर बोल्ट्स र सुदूरपश्चिम रोयल्ससँग हारेको थियो ।

जेनजी २.० को माग : भ्रष्टाचारको छानविन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गरियोस्

काठमाडौं । जेनजी पुस्ताका युवाहरुको एक समूह जेनजी २.० ले गत भदौ अन्तिम साताको आन्दोलनलाई संस्थागत रुप दिँदै भ्रष्टाचारका काण्डहरुको अनुसन्धान तथा आर्थिक, सामाजिक समस्याहरुको समाधानका लागि स्पष्ट राष्ट्रिय कार्ययोजना लागू गर्न माग गरेको छ ।
उक्त समूहले शुक्रवार सडकबाटै सरकारलाई ज्ञापनपत्र बुझाउँदै भ्रष्टाचारसम्बन्धी सबै फाइल यथाशिघ्र खोल्न माग गरेको हो ।

त्यस्तै, जेनजी २.० ले आन्दोलनका मागहरुलाई संस्थागत गर्न, स्वतन्त्र न्यायिक आयोग गठन गर्न, विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित गर्ने कानूनी प्रक्रिया अगाडि बढाउन तथा बन्द अवस्थामा रहेका उद्योग र कलकारखानाहरू खोलेर रोजगार सिर्जना गर्नेलगायतका माग राखेको छ । उनीहरुले कृषिमा आत्मनिर्भरता तथा निर्यातमुखी बनाउन, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका विकृतिविरुद्ध छानबिन गरेर सुधार गर्न तथा राष्ट्रिय एकताको सन्देश प्रवद्र्धन गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

जंगी अड्डालाई प्रधानमन्त्रीको तीन निर्देशन : ‘रगत बिनाको चुनाव, त्रुटिरहित सुरक्षा’ का लागि खट्नुस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधि सभा निर्वाचनलाई पूर्ण शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनालाई कडा र स्पष्ट निर्देशन दिएकी छन् । नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमणका क्रममा उनले निर्वाचन सुरक्षासम्बन्धी विस्तृत जानकारी लिँदै तीन मुख्य निर्देशन जारी गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले देश फेरि हिंसा, अव्यवस्था वा भयको चपेटामा पर्न नदिने आफ्नो सरकारको प्रतिबद्धता दोहो¥याउँदै भनिन्, ‘आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन, एक जना नागरिक पनि घाइते हुनु हुँदैन ।’ उनका अनुसार विगतका निर्वाचन अनुभव र वर्तमान सुरक्षा संवेदनशीलता विश्लेषण गर्दै सबै सुरक्षा निकायबीच त्रुटिरहित समन्वय आवश्यक छ ।

जंगी अड्डामा उनले सेनालाई जनतामा सुरक्षाको प्रत्याभूति दिने सुनिश्चित कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिइन् । प्रहरी कारबाहीलाई सहज, सुरक्षित र प्रभावकारी बनाउने, सबै राजनीतिक दलका गतिविधि बिना अवरोध सञ्चालन हुने वातावरण सिर्जनामा सेनाले सहयोग पुर्‍याउनु पर्ने उनले औंल्याइन् । प्रधानमन्त्रीले हालैको जेनजी आन्दोलनका क्रममा लुटिएका वा हराएका हातहतियारको खोजी–नियन्त्रणमा प्रहरीसँग घनिष्ट सहकार्य गर्न पनि आदेश दिएर फरार अभियुक्तहरू पक्रन कुनै कसर बाँकी नराख्न आग्रह गरिन् ।

सुरक्षा अवस्था, चुनौती र सेनाको आगामी योजनाबारे प्रधान सेनापति अशोकराज सिग्देलसहित सैन्य नेतृत्वले विस्तृत ब्रिफिङ गरेका थिए । निर्वाचनका दिन सेनाको परिचालन ढाँचा, समन्वय प्रक्रियादेखि सम्भावित जोखिम व्यवस्थापनसम्मका योजनाको प्रस्तुतीकरण गरिएको थियो । प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् बनेको सरकारको प्राथमिक जिम्मेवारी देशमा शान्ति–सुरक्षा बहाली गर्दै फागुन २१ गते हुने चुनावलाई स्वतन्त्र र निष्पक्ष बनाउनु नै रहेको बताइन् । सेनाले पाएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्नेमा आफू विश्वस्त रहेको उनले स्पष्ट गरिन् । कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याललगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

प्रधानमन्त्रीका मुख्य तीन निर्देशन
– जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरुलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्नू ।
– आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन । यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरुसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्नू ।

– जेनजी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तया नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गरी स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न पनि कुनै कसर बाँकी नराखी खटिनू ।

नेकपाको एकता सन्देश सभा सुदूरपश्चिमबाट सुरु

कैलाली । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता सन्देश सभा कैलालीको धनगढीबाट सुरु भएको । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल लगायतका नेताहरूको उपस्थितिमा सभा सुरु भएको हो । भानुभक्त जैसीको अध्यक्षयतामा सुरु भएको कार्यक्रममा प्रचण्ड माधवसहित भीम रावल गिरिजामणि पोख्रेललगायतले सम्बोधन गर्नेछन् । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट नेकपाका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको छ ।

आजबाट सुरु भएको नेकपाको सन्देश सभा २३ गतेसम्म देशका विभिन्न स्थानमा सञ्चालन हुनेछन् । सुदूरपश्चिमबाट सुरु हुने यी कार्यक्रम क्रमशः लुम्बिनी, गण्डकी, कोशी, उपत्यका विशेष, कर्णाली, सङ्घीय संरचना समन्वय प्रदेश, मधेश र बागमती प्रदेशमा आयोजना हुनेछ । त्यस्तै, विदेशमा रहेका पार्टी संरचनाहरूका लागि मंसिर २१ गते साँझ ६ बजे भर्चुअल एकता सभा सञ्चालन गरिने कार्यक्रम समेत तय गरिएको छ ।

विजय लामासहित निगमका दुई पाइलटलाई कार्बाही

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका दुई पाइलटको ‘रोस्टर अफ’ गरेको छ । उडानका क्रममा भिडिओ र फोटोग्राफी गरेको भन्दै क्याप्टेन विजय लामा र सोनी राणालाई अर्को सूचना नभएसम्म विमान उडाउन रोक लगाइएको हो । क्यानले शुक्रबार निगमलाई लिखित पत्राचार गर्दै वाइडबडी जहाजका क्याप्टेन विजय लामा र क्याप्टेन सोनी राणालाई उडानमा रोक लगाउन निर्देशन दिएको हो । प्राधिकरणले दिएको निर्देशनअनुसार उडानमा रहेको अवस्थामा फोटो वा भिडियो खिच्नु उड्डयन सुरक्षा मापदण्डविपरीत हुने उल्लेख गरिएको छ ।

सोही आधारमा दुवै पाइलटलाई ‘अर्को सूचना नआएसम्म’ का लागि रोस्टर–अफ (उडान तालिकाबाट हटाइएको) गरिएको हो । उडान सुरक्षा संवेदनशील विषय भएकाले विमान ककपिटमा विशेषगरी फोटो-भिडियोग्राफी जस्ता क्रियाकलापले सुरक्षा जोखिम बढ्ने मानिन्छ । निर्देशनपत्रमा दुबै पाइलटका क्रियाकलाप प्रचलित उड्डयन सुरक्षा नियमहरूसँग बाझिने प्रकारका रहेको स्पष्ट उल्लेख छ । लामा सामाजिक सञ्जाल तथा युट्युबमा पनि सक्रिय छन् । क्याप्टेन लामा यसअघि पनि कार्बाहीमा परेका थिए ।

 

पूर्व एआईजी विश्वराज पोखरेल रास्वपा प्रवेश गर्दै

काठमाडौं । नेपाल प्रहरीका पूर्व एआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन् । रास्वपाको केन्द्रीय कार्यालयमा आज पूर्व एआइजी पोखरेलसहितलाई आजै पार्टी प्रवेश गराउने कार्यक्रम रहेको जनाइएको छ । नेपाल प्रहरीको आइजीपीका निर्विकल्प दाबेदार भएका बेला तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अन्यायपूर्वक उनलाई रोकेर १७ महिना जुनियर धिरजप्रताप सिंहलाई आइजीपी बनाएको थियो ।

धिरजप्रताप सिंहले आइजीपी बन्न २० करोडा बढी रकम खर्च गरेको आरोप समेत लागेको थियो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा डीआइजीबाट एकल एआइजी बढुवा भएका पोखरेल आइजीपी नियुक्तिमा अन्यायमा परेको भन्दै सर्वोच्च अदालत गएका थिए । तर अदालतबाट उनको पक्षमा आदेश नआएपछि राजीनामा दिएर घर गएका थिए ।

उनले आइजीपी बन्न आफूसँग त्यसबेला आरजु देउवाको तर्फबाट केही मानिसले रकमको बार्गेनिङ गरेको समेत आरोप लगाएका थिए । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका पोखरेललाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग नाता जोडेर पनि तत्कालीन सरकारले पूर्वाग्रह साँधेको आरोप थियो । रास्वपा प्रवेशपछि उनी आगामी निर्वाचनमा ओखलढुंगाबाट उम्मेदवार बन्न सक्ने अनुमान पनि गरिएको छ ।

कुलमान घिसिङको उपस्थितिमा ‘उज्यालो नेपाल पार्टी’ घोषणा सभा

काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेर खुलेको उज्यालो नेपाल पार्टी मंसिर १७ गते औपचारिक रूपमा घोषणा हुने भएको छ । आज पत्रकार सम्मेलन गरेर १७ गते, दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रज्ञा भवन, कमलादी, काठमाडौंमा घोषणा सभा हुने जानकारी गराइएको हो । कार्यक्रमका प्रमुख अतिथि उर्जामन्त्री मन्त्री कुलमान घिसिङ रहने छन् । सो अवसरमा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गर्ने समेत जनाइएको छ ।

पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै आएका होइनौं । हामीसँग उज्यालो सपनालाई साकार पार्नसक्ने नेतृत्व, कार्यकुशलता र अनुभव छ । आम नेपाली जनताले विश्वास र भरोसा गरेको नेतृत्व छ । कुरा गरेर होइन, कामबाट प्रमाणित नेतृत्व छ ।’

उज्यालो नेपाल पार्टी, समान सोच र दृष्टिकोण भएका नयाँ तथा वैकल्पिक राजनीतिक दल, सङ्घ, संगठन, सरोकारवाला समूह र व्यक्तिहरूसँग सहकार्य गर्न इच्छुक रहेको जनाइएको छ । जेनजी आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी समृद्ध राष्ट्र निर्माणार्थ परिणाममुखी संवादमार्फत एकजुट हुन हार्दिक आह्वान गरेको छ ।

औषधि व्यवसायीहरुको विभागमा धर्ना

काठमाडौं । औषधि व्यवसायीहरुले औषधि ऐन, २०३५ को दफा ११ मा राखिएको अव्यवहारिक प्रावधान खारेज गर्नुपर्नेमा माग राख्दै औषधि व्यवस्था विभागमा धर्ना दिएका छन् । शुक्रवार नेपाल व्यवसायी महासंघको अगुवाईमा व्यवसायीहरुले म्याद सकिनुअघि नवीकरण नगरे शतप्रतिशत जरिवाना लाग्ने र ३१ औं दिनमा इजाजतपत्र, प्रमाणपत्र स्वतः रद्द हुने जस्ता प्रावधानहरू खारेज गर्न माग गर्दै विभाग अगाडि धर्ना दिएका हुन् ।

प्रशासनिक वा प्राविधिक कारणले ढिलो भएको नवीकरणलाई कमजोरीको रुपमा लिई सहज समाधानका रुपमा सम्बोधन गर्ने व्यवस्था तत्काल लागू गर्न उनीहरुको माग छ । नेपाल औषधि व्यवसायी संघ काठमाडौं शाखाक महासचिव शुभमन श्रेष्ठले लामो समयसम्म औषधि व्यवसायीहरुको माग सम्बोधन गर्न सरकारले चासो नदिएको कारण धर्नामा बस्नुपरेको बताए । उनले औषधि ऐनमा आवश्यक संशोधन गरी औषधि व्यवसायीको संरक्षण, सहज व्यवसायिक वातावरण र जनस्वास्थ्यमैत्री नीति सुनिश्चित गर्ने खालको सुधारात्मक व्यवस्था गर्न माग गरे । कानून आयोगबाट बनाइएको औषधि ऐनको विधेयक यथाशिघ्र प्रमाणीकरणका लागि अघि बढाउन समेत व्यवसायीहरुले माग गरेका छन् ।

जेनजी अगुवा भावना राउतको टिप्पणी : ओली सरकार र नागरिक सरकारबीच केहि फरक देखिनँ

काठमाडौं । जेन–जी आन्दोलनकी अगुवा भावना राउतले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको नागरिक सरकारमाथि गम्भीर असन्तुष्टि प्रकट गरेकी छन् । राष्ट्रपति भवन शीतलनिवासमा २७ भदौको राति १० बजे प्रधानमन्त्री कार्कीले शपथ लिँदा थोरै निम्त्याइएका व्यक्तिमध्ये राउत पनि एक थिइन् । शपथको पहिलो दिनमै कार्कीले व्यक्त गरेको प्रतिबद्धता अहिले बिस्तारै खोसिँदै गएको उनको भनाइ छ ।

राउतले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै जेन–जी आन्दोलनले बलिदान र त्याग गरेर जन्माएको नागरिक सरकार पनि पुराना प्रवृत्तिद्वारा कैद हुन थालेको आरोप लगाएकी छन् । आन्दोलनमा शहीद भएका युवा–युवतीको रगत अझै सडकमै तातो छँदै सरकारले उनीहरूका आकांक्षा विपरीत कदम चालेको उनको टिप्पणी छ । ‘हामी व्यक्तिबाट होइन, प्रवृत्तिविरुद्ध लडिरहेका छौ’, भन्दै उनले राज्यले सार्वजनिक रूपमा आलोचित र विवादित पात्रलाई ‘चोख्याउने’ अभ्यास सुरु गरेको आरोप लगाइन् ।

बाहिर उठिरहेका आवाजप्रति प्रधानमन्त्रीले बेवास्ता गरिरहेको उनले आरोप लगाएकी छिन् । ‘यदि ‘म नै म’ भन्ने अहंकार चलिरहने हो भने ओली सरकार र नागरिक सरकारमा खासै फरक देखिनँ’, राउतले भनेकी छन् । न्यायको प्रतिमूर्ति भनेर सम्मान गर्दै आएको कार्की अहिले विवादित बन्ने संकेत देखिँदा आफूलाई डर लागेको राउतले खुलाएकी छन् । उनले शहीदको रगतलाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न चेतावनी समेत दिएकी छन् ।

न्यायमूर्ति पृष्ठभूमिकी कार्की प्रधानमन्त्री बनेपछि हजारौँ युवाले आशा बोकेर आफूहरू ढालझैं उभिएका थिए तर अहिले पहिलो पटक ‘हारिएको’ महसुस भएको राउतको गुनासो छ । आन्दोलनमा दमन गर्नेहरूलाई कारबाही गर्ने भनिएको प्रतिज्ञा बिस्तारै हराउँदै गएको, मन्त्रिपरिषद् विस्तारमा विवादित नामहरू जोडिन थालेको, महिलाको आवाज समेट्ने आफ्नो निरन्तर आग्रह अस्वीकृत भएको भन्दै उनले प्रधानमन्त्रीमाथि ‘कसको प्रभाव चलिरहेको छ’ भन्ने प्रश्न समेत उठाएकी छन् ।

‘पहिलो महिला प्रधानमन्त्रीको नेतृत्वमा नागरिक सरकार आएको बेला वर्षौंदेखि दबिएका महिला आवाजलाई उठाउन म निरन्तर जुटिरहेँ । तर ठूलो स्वार्थ समूहले त्यो आवाज दबाइदियो’, उनले लेखेकी छन् । इतिहासले आफूहरूले सहेका चोट, पचाएका पीडा र थामेका सपना सम्झने दिन आउने उल्लेख गर्दै उनले अहिले भइरहेको गतिविधि ‘गलत दिशातर्फ’ लागिरहेको चेतावनी दिइन् । राउतले आग्रह गर्दै भनेकी छन्, ‘नागरिक सरकार फेरि पनि स्वार्थी समूहको हातमा नपरोस्, इतिहासले यसलाई ‘एक व्यक्तिको स्वार्थले चलाएको सरकार’ भनेर नलेखोस् ।’ सरकारबाट फेरि धोका भए यो पुस्ता दोब्बर आशा लिएर उठ्न सक्ला–नसक्ला भन्नेमा आफू विश्वस्त नभएको उनको भावुक टिप्पणी छ ।

 

सिम्पसनको अर्धशतकमा काठमाडौंले चितवनलाई दियो १४३ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले १९ ओभरको ४ मा सबै विकेट गुमाएर १४२ रन बनायो ।

चौथो विकेटका लागि जोन सिमसन र मिलिन्द कुमारले ९८ रनको साझेदारी गरेपछि काठमाडौले सम्मानजनक योगफल तयार पार्न उन्मुख थियो। यद्यपी रवि बोपाराले यी दुईको साझेदारी तोडेपछि काठमाडौको लगातार विकेट पतन भयो।

१६ औँ ओभरको अन्तिम बलमा मिलिन्द कुमार ३८ रन बनाउँदा रवि बोपारको बलमा बोल्ड आउट भए। मिलिन्दले ४३ बलमा ५ चौका प्रहार गरे।

१७ औँ ओभरको पहिलो बलमा जोन ६० रन बनाउँदा कमल सिंह ऐरिको बलमा सैफ जैवको हातबाट क्याच आउट भए। जोनले २९ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका थिए।

काठमाडौ एक समय ४.२ ओभरमा ३–२४ को अवस्थामा थियो। त्यसपछि क्रिजमा आएका जोन र मिलिन्दले इनिङ्स उकासेका थिए। काठमाडौले ११ रन जोड्न ६ विकेट गुमायो।

ओपनर वेन चाल्र्सवर्थ १४ बलमा २ चौका सहयोगमा १३ रन बनाउँदा सोहेल तनविरको बलमा रवि बोपाराको हातबाट क्याच आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

चितवनका लागि सोहेल तनविरले ४ विकेट लिए। सोहेलले १८ औँ ओभरमा लगातार तिन विकेट लिएपछि काठमाडौको ब्याटिङ लाइन धरापमा पर्यो। सोहेलले आफ्नो स्पेलमा २५ रन खर्चे। रन्जित कुमार र कमल सिंह ऐरिले समान २ विकेट झारे। रवि वोपाराले एक विकेट लिए। चितवनले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न

चितवन। भरतपुर महानगरपालिका क्षेत्रमा गरिएको भूमिगत विद्युतीकरणको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको छ । आगामी माघसम्ममा काम सम्पन्न गर्ने लक्ष्य राखिएकामा हालसम्म ८० प्रतिशत काम पूरा भएको हो ।

नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले भरतपुरको छ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरणको काम गरिरहेको छ ।

आयोजना प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार आयोजनाले भूमिगत विद्युतीकरणसँगै काम सकिएका ठाउँमा परीक्षण प्रसारणस्वरुप विद्युत् प्रवाह सुरु गरेको छ । आयोजना क्षेत्रभित्रका ४० प्रतिशत ठाउँमा भूमिगतमार्फत विद्युत् प्रवाह गरिएको उनले जानकारी दिए।

सुवेदीले भने, ‘पुस अन्तिम वा माघको दोस्रो सातासम्म काम सम्पन्न गर्नेगरी अघि बढेका छौँ ।’ अहिले केबल बिछ्याउने, ट्रमिनेसनमा जडान गर्ने, घरघरमा विद्युत् जडान गर्न सर्भिस केबल बिछ्याउने, ट्रान्सफर्मर पोष्ट बनाउने काम गरिएको उनले बताए।

उनले थपे, ‘तीन महिनासम्ममा भूमिगतबाट विद्युत् सेवा प्रवाह गर्नेगरी काम अघि बढाएका छौँ ।’ भूमिगत प्रसारणबाट विद्युत् प्रवाह गरिए पनि केही समय पोलका तार नहटाइने उनले जानकारी दिए । तार भए पनि विद्युत् प्रसारण नहुने भन्दै उनले गर्मी समयमा विद्युत्को क्षमता धान्न सक्ने-नसक्ने हेरेर मात्रै सडक माथिका तार हटाइने बताए।

केन्द्रीय बस ट्रमिनलबाट गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिए पनि अहिले थप गरी ११ केभिए र चार सय भोल्टको लाइनलाई भूमिगत गर्न थालिएको प्रमुख इञ्जिनियर सुवेदीले उल्लेख गरे । पछिल्लो सम्झौताअनुसार भरतपुर महानगरपालिकाभित्र चनौली लाइन जडानका लागि भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगतमार्फत काम गर्दै लगिएको छ ।

भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि एक अर्ब ४० करोड लागत लाग्ने छ । सुरुवाती समयमा एक अर्ब ३० करोड बजेट भरतपुरलाई विनियोजन गरिएको थियो । काम थपिएसँगै १० करोड थप गरिएको हो ।

निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले पाएको थियो । सन् २०२१ अक्टोबरदेखि ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो । ठेक्का सम्झौता अनुसार पहिलो चरणको समय सन् २०२४ को जनवरी २० मा सकिएसँगै पटक–पटक म्याद थप गरेर कामलाई अघि बढाइएको हो ।

सन् २०२६ जुलाईसम्म म्याद थप गरिएको छ । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।

विदेश जाने कामदारको स्वास्थ्य परीक्षण शुल्कमा भारी वृद्धि, दैनिक ५० लाख बढी अतिरिक्त आर्थिक भार

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि स्वास्थ्य परीक्षण शुल्क एकै पटक उल्लेख्य रूपमा बढेपछि वैदेशिक रोजगार व्यवसायी एशोसियसन र स्वास्थ्य परीक्षण संस्थाहरूबीच तीव्र मतभेद सिर्जना भएको छ । मंसिर १० गतेदेखि लागू हुने गरी निर्धारित नयाँ शुल्कले गरिब र विपन्न कामदारमाथि ठूलो आर्थिक भार पर्न जाने भन्दै एशोसिएसनले आपत्ति जनाएको छ ।

सरकारले युएई जाने कामदारका लागि साविकको ४,५०० रुपैयाँ स्वास्थ्य परीक्षण शुल्क बढाएर ९,५०० रुपैयाँ पुर्‍ याएको छ । त्यस्तै, अन्य मुलुकको हकमा ६,५०० रुपैयाँबाट सोही दरमा ९,५०० तोकिएको छ । एशोसिएसनका अध्यक्ष दीपक थापाले शुल्क दोब्बर जस्तै बढाइएपछि विदेशी रोजगारमा जान बाध्य विपन्न युवामाथि अन्याय भएको टिप्पणी गर्दै तत्काल निर्णय फिर्ता गर्न आग्रह गरेका छन् । उनका अनुसार खाडी तथा मलेसियातर्फ जाने कामदारले अहिले १० हजार रुपैयाँ जति सेवा शुल्क तिर्नुपर्ने अवस्था छ, त्यसैमा ९,५०० रुपैयाँको स्वास्थ्य परीक्षण थपिनु ‘गम्भीर आपत्तिको विषय’ भएको छ ।

दैनिक करिब १,५०० नेपाली वैदेशिक रोजगारीका लागि विदेशिने तथ्यांकका आधारमा शुल्क वृद्धिले प्रतिदिन देशभरि एकै पटक ५० लाख रुपैयाँ बढी अतिरिक्त आर्थिक भार पारेको एशोसिएसनको भनाइ छ । उनीहरूका अनुसार गन्तव्य मुलुकहरूले अन्तिम स्वास्थ्य परीक्षण आफ्नो देशमै पुनः गराइरहेको अवस्थामा नेपालमा परीक्षण शुल्क बढाउनु औपचारिकतामा मात्रै धक्का थप्नु हो ।

यता नेपाल मेडिकल व्यवसायी संघ र सम्बन्धित सरकारी निकायले भने शुल्क वृद्धि आवश्यक सुधारका कारण भएको दाबी गरेका छन् । संघका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयको समन्वयमा तयार पारिएको नयाँ मापदण्डअनुसार अहिले ३४ प्रकारका अनिवार्य परीक्षण समावेश गरिएको छ । यसमा भिडियो एक्स–रे, थाइराइड परीक्षण, मुटुको विस्तृत जाँच, किड्नी परीक्षण, ड्रग टेस्ट, सुगर ग्राफदेखि महिला कामदारका लागि पाठेघरको मुखको स्क्रिनिङसम्म जोडिएको छ । यी परीक्षणले कामदारलाई विदेशमा आइपर्न सक्ने स्वास्थ्य जोखिम पहिचान गर्न मद्दत गर्ने संघको तर्क छ ।

स्वास्थ्य परीक्षण प्रणालीलाई डिजिटल प्लेटफर्ममार्फत पारदर्शी बनाउन पहल भइरहेको संघको भनाइ छ । परीक्षणको नतिजा मेसिनबाट सिधै सरकारी पोर्टलमा पठाउने तयारी अन्तिम चरणमा पुगेको र यसले अनियमितता रोक्ने दाबी गरिएको छ । संघले १४–१५ हजार रुपैयाँ बराबर पर्ने सेवा सरकारी अस्पतालमा गराए जति महँगो नबनाई ९ हजार ५०० को प्याकेजमा सीमित गरिएको र यो शुल्क मन्त्रालयकै सिफारिसअनुसार निर्धारण गरिएको स्पष्टीकरण दिएको छ । श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करले नयाँ शुल्क वृद्धि मन्त्रालयको नयाँ निर्णय नभई विगतकै प्रक्रियागत निर्णयको कार्यान्वयन रहेको बताए ।

उनका अनुसार स्वास्थ्य मन्त्रालयले झण्डै दुई वर्षअघि नै परीक्षणको दायरा विस्तारसहित करिब १२ हजार ५०० रुपैयाँको दररेट प्रस्ताव गरेको थियो, जुनपछि सरकारी अस्पतालहरूको दर विश्लेषण गर्दै ९ हजार ५०० को सीमा तोकिएको हो । हाल सरकारद्वारा सूचीकृत १७१ स्वास्थ्य संस्थाले वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण सेवा प्रदान गर्दै आएका छन् । एशोसिएसनले ‘नयाँ मापदण्ड पूर्ण रूपमा लागू नगरी शुल्क मात्र बढाउनु अनुचित’ भन्दै निर्णय पुनर्विचार गर्न पुनः आग्रह गरेको छ । स्वास्थ्य परीक्षण शुल्क वृद्धि आवश्यक सुधार हो कि कामदारमाथि बोझ ? यो विषयमा अब सरकार, व्यवसायी र एशोसिएसनबीच थप छलफल आवश्यक पर्ने देखिएको छ ।

दबावमा देउवा : खड्कासहित आज पनि दुई महामन्त्रीसँग छलफल, संस्थापन समूह छुट्टै रणनीतिमा

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको समय सीमा र विशेष महाधिवेशन हुने–नहुनेलाई लिएर उत्पन्न विवाद थप तीव्र बन्दै गएको छ । सभापति शेरबहादुर देउवाले आज पुनः कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग निर्णायक छलफल गर्न लागेका छन् ।

शुक्रबार दिउँसो १ बजेका लागि तय भएको बैठकमा आगामी महाधिवेशन नियमित रूपमा गर्ने कि विशेष महाधिवेशन बोलाउने भन्ने संवेदनशील विषयमा केन्द्रित छलफल हुने बताइएको छ । सो टोलीले बिहीबार साँझ पनि सभापति देउवासँग बैठक गरेको थियो, तर महाधिवेशनसम्बन्धी विवादमा ठोस सहमति जुट्न नसकेपछि आजका लागि तय भएको केन्द्रीय समितिको बैठक आइतबार सारिएको छ ।

महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले विशेष महाधिवेशनका पक्षमा लिखित माग राखेपछि नेतृत्वमा थप दबाब परेको छ । गगन थापा र विश्वप्रकाश शर्मा सहितका नेताहरूले फागुन २१ को निर्वाचनअघि नेतृत्व परिवर्तन अनिवार्य रहेको दाबी गर्दै विशेष महाधिवेशन बोलाउन देउवामाथि निरन्तर दबाब बढाइरहेका छन् ।

यसैबीच, विशेष महाधिवेशनको विपक्षमा रहेको संस्थापन समूह भने आफ्नै आन्तरिक तयारी र रणनीति बनाउन अलग्गै बसेको छ । बानेश्वरस्थित आनन्दभूमि होटलमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइरालासहित करिब ७० भन्दा बढी नेताहरू सहभागी रहेको बैठक बिहान ९ बजेदेखि नै जारी छ। संस्थापन समूहले आगामी फागुन २१ को निर्वाचनअघि पार्टी महाधिवेशन गर्न नहुने अडान दोहोर्याउँदै आएको छ । एकातिर देउवा–खड्का–महामन्त्री तिकडीले समाधान खोज्ने प्रयास चलाइरहेका बेला अर्कोतिर संस्थापन समूहले बलियो संगठनात्मक सतर्कता अपनाएको संकेत देखिएको छ । महाधिवेशनको समय, स्वरूप र नेतृत्व रूपान्तरणको बहसले कांग्रेसभित्रको आन्तरिक राजनीतिक समीकरणलाई थप रोचक मोडमा पुर्‍याएको छ ।

पौने सात करोड क्रिप्टो कारोबार गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । पौने सात करोड बराबरको क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं–१३ बस्ने २२ वर्षीय विकास शाह बानियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए । रौतहटको गरूडाका शाहलाई प्रहरीले बिहीबार भद्रकालीबाट पक्राउ गरेको हो ।

उनले ६ करोड ७८ लाख ८० हजार ७२५ रुपैयाँ बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको आरोप छ । उनीमाथि अनलाइन ठगीको समेत आरोप छ । अहिले प्रहरीले शाहमाथि अभौतिक कारोबार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाएको छ ।
यसअघि बुधबार पनि काठमाडौं प्रहरीले डल्लु बस्ने २३ वर्षीय मोहम्मद सेफलाई पक्राउ गरेको थियो । उनले पनि १९ करोड ८१ लाख ४९ हजार ५८१ रुपैयाँ भन्दा बढी रकमको क्रिटो कारोबार गरेको आरोप छ ।

राप्रपाले काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर २३ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले मंसिर २३ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । ‘राजा, राजनीतिक दल र जेनजीबीच नवीन समझदारीका लागि दबाव दिने उद्देश्यले मंसिर २३ गते काठमाडौंमा उपत्यकाव्यापी विशाल प्रदर्शन गर्ने निर्णय’ भएको उनले जनाएका छन् । उनले मुलुकको समसामयिक परिस्थितिमा राप्रपाको धारणा अवगत गराउन प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्ने निर्णय भएको पनि उल्लेख गरेका छन् ।

वर्तमान सन्दर्भमा आम जनसमुदायमा राप्रपाको धारणा पुर्‍याउन देशव्यापी सभा र प्रदर्शनको आयोजना गर्ने निर्णय पनि भएको छ । सभा र प्रदर्शन व्यवस्थापन गर्न प्रवक्ता ज्ञानेन्द्र शाही, प्रवक्ता गोपाल दाहाल, सहमहामन्त्री रवीन्द्रप्रताप शाह र सहमहामन्त्री धनबहादुर बुढा रहेको समिति गठन गरिएको उनले बताए । राप्रपाले समान विचारधारा भएका दल, अभियान, समूह र व्यक्तिहरूसँग एकता, मोर्चा र सहकार्यका लागि वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुबबहादुर प्रधान रहेको वार्ता समिति गठनसमेत गरेको छ ।

एक हजार दरका ४३ करोड थान नयाँ नोट छाप्न चीनलाई ठेक्का

काठमाडौं । केन्द्रिय बैंकले एक हजार दरको नयाँ नोट छाप्ने ठेक्का पनि चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंककाअनुसार चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई उक्त नयाँ नोट छाप्ने ठेक्का दिइएको हो । यो कम्पनीले एक हजार दरका ४३ करोड थान नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्नेछ । नेपाल राष्ट्र बैंकले नोट छाप्ने ठेक्का लगाउन गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो ।

बोलपत्रमार्फत प्राप्त भएकोमध्ये सबैभन्दा थोरै मूल्य प्रश्ताव गरेकाले कर्पाेरेशनलाइ बैंकले छनौट गरेको हो । मुद्रण तथा आपूर्ति खर्च दिनुपर्नेछ । राष्ट्र बैंकले कुल १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर (हालको विनिमय दरअनुसार २ अर्ब ४२ करोड ६७ लाख ६१ हजार रूपैयाँ) भुक्तानी गर्ने सहमति भएको छ ।

 

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क वृद्धिमा एशोसियसनको आपत्ति

काठमाडौँ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति जनाएको छ ।

एशोसियसनले आज एक विज्ञप्ति जारी गरी मङ्सिर १० देखि लागू हुनेगरी वैदेशिक रोजगारमा जाने कामदारका लागि एकैपटक ठूलो भार पर्नेगरी स्वास्थ्य शुल्क बढाएकामा आपत्ति जनाएको हो ।

सरकारले युएई मुलुकका हकमा रु चार हजार ५०० बाट दोब्बर बढाएर रु नौ हजार ५०० र अन्य मुलुकको हकमा रु छ हजार ५०० बाट रु नौ हजार ५०० पु¥याएको छ । शुल्क वृद्धिले वैदेशिक रोजगारमा जाने गरिबी र विपन्न अवस्थाका कामदारमाथि निकै भार परेको एशोसिएसनको बुझाइ रहेको एशोसियसनका अध्यक्ष दीपक थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, खाडी तथा मलेसिया जाने कामदारका लागि रु १० दश हजार सेवा शुल्क तोकेको अवस्थामा स्वास्थ्य परीक्षण शुल्क नै नौ हजार ५०० लिनु गम्भीर आपत्तिको विषय भएको अध्यक्ष थापाले उल्लेख गर्नुभयो ।
रोजगारीका लागि विशेषगरी मलेसिया र खाडीमुलुक जाने नेपाली अतिविपन्न अवस्थामा रहेकाहरू हुने एशोसिएसनको भनाइ छ । ती मुलुकमा दैनिक एक हजार ५०० युवा रोजगारका लागि जाने गरेका र उक्त निर्णयले विपन्न श्रमिकमाथि आर्थिक भार थप्ने एशोसियसनले जनाएको छ ।

गन्तव्य मुलुकले नेपालमा गरिने स्वास्थ्य परीक्षणको विश्वास नगरी आफ्नो मुलुकको मापदण्डअनुसार स्वास्थ्यपरीक्षण गराउने गरेको अवस्थामा नेपालमा परीक्षणका लागि शुल्क बढाउनु राम्रो नभएको जनाइएको छ।

नेपालमा हुने स्वास्थ्य परीक्षण केबल श्रम स्वीकृतिको कानुनी प्रक्रिया पूरा गर्ने औपचारिकता मात्रै भएको एशोसियसनको भनाइ छ । एशोसियसनले विपन्न अवस्थामा रहेका कामदारमाथि आर्थिक भार हुनेगरी गरिएको स्वास्थ्य परीक्षण शुल्क वृद्धि तत्काल फिर्ता लिन आग्रहसमेत गरेको छ ।

विवादै–विवादको घेरा प्रधानमन्त्री सुशीला कार्की, फेरि अर्को ‘संगीन’ आरोप

काठमाडौं । एक समय भ्रष्टाचारविरुद्ध खरो रुपमा उभिएको छविका कारण चर्चामा रहेकी पूर्व प्रधानन्यायाधीश तथा हालकी प्रधानमन्त्री सुशीला कार्की पछिल्लो समय लगातार आरोप–प्रत्यारोप र विवादको घेरामा परिरहेकी छन् । सचिवालयमा मनपरी कर्मचारी भर्तीदेखि डिम्ब तस्करीमा संलग्न व्यक्तिलाई जोगाएको आरोपमा विवादित बनेकी कार्कीमाथि फेरि अर्को सार्वजनिक सम्पत्ति अतिक्रमण गरेको ‘संगीन’ आरोप लागेको छ ।

टोखा नगरपालिका–४, धापासीस्थित आफ्नै निवास परिसरभित्र उनले वर्षौंदेखि सरकारी जग्गा कब्जा गरी भोगचलन गर्दै आएको तथ्य बाहिरिएपछि प्रधानमन्त्रीमाथिको यस आरोपले थप राजनीतिक तरंग पैदा गरेको छ । श्रीमान दुर्गाप्रसाद सुवेदीको नाममा रहेको सो घर ६ आना १ पैसा २ दाम निजी जमिनमा बनेको भए पनि करिब ३ आना बराबरको सरकारी जमिन अतिक्रमण भएको नापी सरकारी निकायले नै पुष्टि गरिसकेको छ ।

२०७६ सालमा वडा कार्यालयले अमिनमार्फत गराइएको नापीले सरकारी जमिन घरको एक साइडमा पर्खालभित्र परेको देखाएको थियो । कार्कीका नाममा सुरक्षा व्यवस्था कडा बनाइएको २०७३ सालतिर सुरक्षाकर्मी आवासका लागि अस्थायी संरचना बनाइएको भन्दै त्यसैको कारणले सरकारी जमिन प्रयोग भएको दाबी गरिए पनि स्थानीय र सरोकारवालाहरू यो व्याख्या विश्वसनीय नभएको बताउँछन् । स्थानीयहरूको आरोपमा कार्की परिवारले घर बनाउने क्रममा नै सरकारी जमिन समेटेर पर्खाल लगाएको र सुरक्षाकर्मीका लागि बनेको संरचना पछि थपिएको हाे। एक स्थानीय भन्छन्, ‘नियतै सरकारी जमिन हडप्ने रहेछ । पर्खाल लगाएर ढाकछोप गर्न खोजियो, तर यस्ता कुरा लुकाएर बस्न सकिँदैन ।’

वडाध्यक्ष धर्म श्रेष्ठले समेत कार्कीको निवास क्षेत्रमा सरकारी जग्गा परेको पुष्टि गरेका छन् । उनका अनुसार कार्कीले मौखिक रूपमा ‘नेपाल सरकारले भनेको बेला खाली गरिदिने’ आश्वासन दिए पनि वर्षौंदेखि संरचना यथास्थानमै छ । वडाले सरकारी जग्गा संरक्षण अभियान चलाइरहँदा धेरै ठाउँमा संरचना हटाइए पनि प्रधानमन्त्रीको निवासको संरचना तत्काल नछोएको श्रेष्ठले खुलासा गरेका छन् । टोखा नगरपालिकाले हालसम्म झण्डै १,४०० रोपनी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याइसकेको छ । तर, प्रधानमन्त्रीकै निवासले सरकारी जमिन ओगटेको भएपछि अन्य अतिक्रमण हटाउन पनि समस्या भइरहेको कर्मचारीहरू बताउँछन् । ‘प्रधानमन्त्रीले नै हटाउनु भएको भए हामीलाई सबै ठाउँमा कडाइ गर्न सजिलो हुने थियो’, एक कर्मचारीले भने ।

मेयर प्रकाश अधिकारीका अनुसार अब नगरपालिकाले सार्वजनिक सम्पत्ति संरक्षण समितिसँग समन्वय गरी कार्की परिवारसँग संवाद गर्ने, ३५ दिने नोटिस दिने र नटेरे कानुनअनुसार डोजर चलाउने तयारी छ । २०७६ को नापी जत्तिकै पुरानो फाइल कार्यान्वयन हुन ढिलाइ हुनुमा कोभिड–१९ को बाधा र प्रधानमन्त्रीको निवास भएको संवेदनशीलता कारण रहेको उनको भनाइ छ । धापासीमा हाल प्रतिआना करिब ४० लाख रुपैयाँ मूल्य पर्ने सरकारी जमिन व्यक्तिगत प्रयोगमा बसेको यो प्रकरणले स्थानीयलाई मात्र होइन, सम्पूर्ण सार्वजनिक जग्गाको संरक्षण अभियानलाई नै चुनौती दिएको छ । स्थानीयहरूको माग छ–नगरपालिकाले ढिलाइ नगरी सरकारी जमिन फिर्ता ल्याओस् र सबैमा समान नियम लागू होस् ।