`

समानुपातिकको बन्दसूची बुझाउने आज अन्तिम दिन

काठमाडौं । आउँदो फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने आज (सोमबार) अन्तिम दिन हो । अहिले प्रतिनिधिसभा निर्वाचनको सरगर्मी उत्कर्षमा पुगेको छ ।

समावेशी सिद्धान्त र पार्टीभित्रको शक्ति सन्तुलन मिलाउँदै बन्दसूचीलाई अन्तिम रूप दिन यतिबेला प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू बालुवाटार, सानेपा र च्यासलमा अन्तिम कसरतमा जुटेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार, दलहरूले आज (पुस १४ गतेभित्र) समानुपातिकतर्फको बन्दसूची बुझाइ सक्नु पर्नेछ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, निर्धारित समयभित्र सूची दर्ता नगर्ने दल निर्वाचन प्रक्रियाबाट वञ्चित हुनेछन् ।

आयोगको तयारी र समयतालिका
आयोगले समानुपातिकतर्फ भाग लिन चाहने दलहरूका लागि स्पष्ट समयरेखा कोरेको छ । प्रवक्ता भट्टराईका अनुसार, आज (सोमबार) साँझसम्म पेस गरिएका सूचीमाथि भोलि (पुस १५) देखि २० गतेसम्म आयोगले सुक्ष्म छानबिन गर्नेछ । यदि सूचीमा त्रुटि भेटिए वा समावेशी क्लस्टर नमिलेको खण्डमा दलहरूलाई पुस २१ देखि २७ गतेसम्म सच्याउने अवसर दिइनेछ ।

आयोगले सच्याइएको सूचीको पुनः जाँचबुझ गरी माघ ४ गते सूची सार्वजनिक गर्ने र माघ २० गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ । आयोगका अनुसार यसपटक समानुपातिक प्रणालीतर्फ भाग लिन १०० वटा राजनीतिक दलले ९३ वटा निर्वाचन चिह्नमार्फत दर्ता गराएका छन् । यद्यपि, आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लगायत तीन दलले मात्र १३४ जनाको सूची आयोगमा दर्ता गराएको प्रवक्ता भट्टराईले जानकारी दिए । समानुपातिकतर्फका ११० सिटमा आफ्ना उम्मेदवार छनोट गर्न ठूला दलहरूमा भने रस्साकस्सी चलेको छ ।

नेपाली कांग्रेस – सत्ताको नेतृत्व गरिरहेको वा प्रमुख दलको हैसियतमा रहेको नेपाली कांग्रेसले आफ्ना नियमित बैठकहरू स्थगित गरेर बन्दसूचीलाई प्राथमिकतामा राखेको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, केन्द्रीय कार्यसम्पादन समितिको बैठक रोकेर प्रदेशगत सन्तुलन मिलाउन नेताहरू छलफलमा व्यस्त छन् । सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतले भने, ‘सातवटै प्रदेशबाट प्रतिनिधित्व हुने गरी समावेशी सूची तयार गर्नु चुनौतीपूर्ण छ, तर हामी आजै अन्तिम नामावली आयोगलाई बुझाउनेछौँ ।’

नेकपा (एमाले) – यता, नेकपा (एमाले) ले पनि सोमबार नै बन्दसूची बुझाउने निर्णय गरेको छ । आइतबार च्यासलस्थित पार्टी मुख्यालयमा बसेको बैठकले जिल्ला र प्रदेश कमिटीबाट आएका सिफारिसका आधारमा सूचीलाई अन्तिम रूप दिएको हो । उपमहासचिव लेखराज भट्टले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत सूचीमाथि छलफल भई आसन्न फागुन २१ गते हुने निर्वाचनका लागि आयोगमा बुझाउने तयारी पूरा भएको जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) – पार्टी एकताको सन्देशसहित निर्वाचनमा होमिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उम्मेदवार छनोटको सम्पूर्ण अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाललाई सुम्पिएको छ । नेता शक्ति बस्नेतका अनुसार, पार्टी एकता प्रक्रियामा आएका विभिन्न घटकहरूको सम्मानजनक प्रतिनिधित्व र आयोगको मापदण्ड अनुसार सन्तुलन मिलाएर सूची बुझाउने तयारी भइरहेको छ । केही जिल्लाबाहेक अधिकांश स्थानबाट आएका सिफारिसलाई आधार मानेर शीर्ष दुई नेताले आज सूचीलाई अन्तिम रूप दिनेछन् ।

समानुपातिक उम्मेदवारको बन्दसुची बुझाउन के छ ठूला दलको तयारी ?

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक उम्मेद्वारको बन्द सूची बनाउन ठूला दलहरू अन्तिम कसरत गरिरहेका छन् । 

सरकारले पौष १३ र १४ गतेसम्म समानुपातिक उम्मेदवारको नाम बुझाइसक्न सुचित गरेको थियो।  यसकै लागि दलहरु उम्मेदवार छनोटको तिव्र तयारीमा लागेका हुन् । 

नेपाली कांग्रेसको समानुपातिक उम्मेदवार चयनका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । केन्द्रीय कार्यसमितिको बैठकमा सात प्रदेशकै केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरूसँग समानुपातिक उम्मेद्‍वारबारे  छलफल भइरहेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

एमालेले समानुपातिक उम्मेदवारको नामको अन्तिम टुङ्गो लगाउन सचिवालय बैठक बसिरहेको छ । एमालेले समानुपातिक उम्मेदवारहरुको नाम तयार पारिसकेको छ । 

समानुपातिक उम्मेदवारको सुची तयार भइसकेको केन्द्रीय सदस्य महेश बर्तौलाले नेपालवन एचडीलाई जानकारी दिएका छन् । 

 ‘हामीले सबै नाम पनि टुङ्गो लगाईसकेका छौ‌ं,’ बर्तौलाले भने, ‘भोलीसम्म निर्वाचन आयोगमा सुची बुझाउछौँ ।’ 

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीले पनि समानुपातिक उम्मेदवार चयनका लागि छलफल गरिरहेको छ । भोलीसम्म समानुपातिक उम्मेदवार चयन भइसक्ने नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले बताए ।

यता विघटित प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सामानुपातिक उम्मेदवार चयनका लागि निर्वाचन गरिरहेको छ । समानुपातिक उम्मेदवार चयनका लागि गत पौष १० र ११ मा ब्लु प्रिन्ट संवाद चलाएको रास्वपाले देश तथा विदेशमा बस्ने पार्टी सदस्यहरुको मतदानबाट समानुपातिक उम्मेदवारको अन्तिम टुंगो लगाउने जनाएको छ । तर, काठमाडौंका मेयर बालेन शाहसँग एकता गरेको हुँदा रास्वपाले ४० जना उम्मेद्वारको कोटा शाहलाई दिने छ । त्यसैले, रास्वपामा निर्वाचित भएका ११० उम्मेद्वारमध्ये ७० जना मात्रै उम्मेद्वार बन्न पाउनेछन् । 

बालेन शाह पक्षले पनि जेनजी अभियन्ताहरु, महानगरमा मेयर हुँदा सहयोग गर्ने व्यक्ति र सार्वजनिक रुपमा ख्याती कमाएका व्यक्तिलाई समेटेर सूची तयार पारिरहेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि देशैभारबाट समानुपातिक उम्मेदवारको नाम आइसकेको जनाएको छ । प्रवक्ता ज्ञानेन्द्र शाहीको सचिवालयले नेपाल वन एचडीसँग बताएअनुसार समानुपातिक उम्मेदवारको नाम प्राप्त भइसकेको र त्यसलाई भोलि बस्ने राप्रपाको पदाधिकारी बैठकले मुर्त रुप दिनेछ । 

प्रलोपासँग चुनावी एकता गर्दै कुलमान, आजै सहमति–पत्रमा हस्ताक्षरको तयारी

काठमाडौं । डा. बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो पार्टी नेपालबीच चुनावी सहकार्य हुने भएको छ । रास्वपा र र बालेन शाहसँग सहमतिमा नगएका कुलमानले प्रलोपासँग सहकार्य गर्न लागेका हुन् । दुई पार्टीबीच आज ६ बजे सहमति पत्रमा हस्ताक्षर हुन लागेको प्रलोपा अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले जनाएका छन् । शर्मा मन्त्री हुँदा नै कुलमानलाई विद्युत् प्राधिकरणमा लगेका थिए ।

दुवै पार्टीका वार्ता टोलीबीच पटक–पटक छलफलपछि आइतबार साँझ ६ बजे शीर्ष तहका नेतासहितको छलफल हुने ऊज्यालो पार्टीका केन्द्रीय सदस्य जितराम तामाङले जानकारी दिए । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद् सदस्य सुदन किराँतीले भने, ‘हामी निरन्तर संवादमै छौँ। हाम्रो गन्तव्य पार्टी एकतासम्मको हो’ भने ।

मोहन बस्नेत मुछिएको टेरामक्स भ्रष्टाचारमा विशेषले माग्यो सर्वोच्चका दुई आदेश

काठमाडौँ । टेरामक्स भ्रष्टाचार प्रकरणको मुद्दामा विशेष अदालतले सर्वोच्च अदालतका दुई आदेश झिकाएको छ । आज (आइतबार) विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासले यसैसँग सम्बन्धित सर्वोच्चका दुईवटा आदेश मगाउन भनेको हो । यस भ्रष्टाचारका मुद्दामा नेपाली कांग्रेसका नेता एवम् पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत जोडिएका थिए ।

उनले नेपाल दूरसञ्चार प्राधिकरणको ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) उपकरण तथा प्रणाली खरिदमा भ्रष्टाचार गरेको आरोप थियो । गत वर्ष जेठ १ गते अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सञ्चारमन्त्री बस्नेतसहित १६ जनाउपर भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । यस प्रकरणमा ३ अर्ब २१ करोड ८३ लाख घोटाला गरेको आरोप रहेको छ । २०७६ जेठ २० गते दायर रिटमा सर्वोच्च अदालतले २०७८ वैशाख १४ गते आदेश दिएको थियो ।

यही विषयसँग सम्बन्धित अर्को रिट निवेदनमा भएको आदेशको प्रमाणित प्रतिलिपि पनि सर्वोच्चबाट झिकाउन विशेष अदालतले आदेश दिएको हो । यस्तै यही भ्रष्टाचार मुद्दासँग सम्बन्धित विषयको अनुसन्धानको क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट नियुक्त टेलिकम्युनिकेसन विज्ञ केशव ज्ञवालीसँग बुझ्नुपर्ने देखिएकाले उनलाई बकपत्रका लागि इजलासमा पेश गर्न पनि आदेशमा भनिएको छ ।

 

 

 

 

 

 

फेरि रास्वपामै फर्किन लागेकी हुन् सुमना ?

काठमाडौं । पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ सुमना श्रेष्ठ फेरि पुरानै पार्टीमा फर्किने तयारीमा देखिएकी छिन् । जेनजी आन्दोलनपछि रास्वपा परित्याग गरेकी उनी पुनः सोही राजनीतिक धारमा फर्किने तयारीमा रहेको चर्चा चल्न थालेको छ । काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) र रास्वपा सभापति रवि लामिछानेबीच हालै भएको ७ बुँदे समझदारीसँगै सुमनाको भूमिकालाई लिएर नयाँ अड्कलबाजी सुरु भएको हो ।

स्रोतहरूका अनुसार बालेनको टिममार्फत सुमना रास्वपामा समाहित हुने सम्भावना बलियो देखिएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनमा उनलाई समानुपातिकतर्फ उम्मेदवार सिफारिस गर्नेबारे समेत अनौपचारिक छलफल भएको बताइन्छ । यद्यपि, यसबारे सुमनाले सार्वजनिक रूपमा कुनै औपचारिक घोषणा गरेकी छैनन् । सुमना श्रेष्ठले रास्वपामा रहँदा पार्टीभित्र ‘एक व्यक्तिको देवात्वकरण’, फरक विचारप्रति असहिष्णुता र आफूमाथि भएको अनावश्यक मिडिया ट्रायलको आरोप लगाउँदै भदौ २९ गते पार्टी छाडेकी थिइन् । त्यसपछि उनले वैकल्पिक राजनीतिक शक्ति निर्माणको आवश्यकता औंल्याउँदै कुलमान घिसिङ, सुदन गुरुङ र बालेन साहसँग छलफल अघि बढाएकी थिइन् ।

त्यतिबेला नयाँ दल गठन, जेनजी आन्दोलनका अगुवालाई समेट्ने योजना र साझा नेतृत्वको बहस चले पनि नाम, नेतृत्व र चुनाव चिह्नमै सहमति नजुट्दा प्रयास सफल हुन सकेन । कुलमान घिसिङको नेतृत्वमा बनेको उज्यालो नेपाल पार्टीमा सुमना समेटिन नसक्नुले उनी अपेक्षित राजनीतिक ‘प्लेटफर्म’ बाट बाहिरिएको विश्लेषण समेत भयो । ‘युवा आइकन’ को रूपमा हेरिएकी सुमना अहिले राजनीतिक रूपमा क्रमशः एक्लिँदै गएको टिप्पणीहरू पनि हुने गरेको छ । रास्वपामा रहँदा संसदमा धारिला प्रस्तुति, छोटो समयको शिक्षामन्त्री कार्यकाल र सामाजिक मुद्दामा सक्रियताका कारण लोकप्रिय बनेकी उनी पार्टी छाडेपछि भने स्पष्ट राजनीतिक आधार बिना अघि बढेकी देखिन्छिन् ।

यसबीचमा प्रधानमन्त्री सुशीला कार्कीसँगको सम्बन्ध पनि सहज नरहेको चर्चा सार्वजनिक भयो । सचिवालय व्यवस्थापन र पहुँचका विषयमा असमझदारी बढेपछि बालुवाटारसँग दूरी बढेको विश्लेषण गरिएको छ । त्यसयता जेनजी आन्दोलनमार्फत सरकारको आलोचना गरेको आरोप समेत उनीमाथि लाग्यो । जेनजी आन्दोलनभित्रै पनि सुमनाको भूमिकामाथि प्रश्न उठ्दै गएपछि उनको प्रभाव कमजोर हुँदै गएको संकेत देखिएको छ । यसैबीच नेतृ श्रेष्ठले बालेन र रास्वपाबीच भएको ७ बुँदे सहमतिलाई सकारात्मक रूपमा लिएकी छन् । उनले वैकल्पिक शक्तिहरूबीच एकता आवश्यक रहेको बताउँदै बालेन र रास्वपाले कुलमान घिसिङ तथा उज्यालो नेपाल पार्टीलाई समेत एकता प्रक्रियामा समेट्न मेहनत गर्नुपर्ने धारणा राखेकी छन् ।

उनका अनुसार यो एकताले संसद पुनःस्थापना विरोधी धारलाई निस्तेज गरेको छ र समयमै चुनाव गर्न बल पुगेको छ । ‘एकतापछि नयाँ शक्तिमा ठूलो जिम्मेवारी आएको छ’, भन्दै उनले जनतामा बढेको वितृष्णा सम्बोधन गर्न स्पष्ट खाका कोर्नुपर्ने आवश्यकता औंल्याइन् । एकता प्रक्रियापछि आफ्नो भूमिका के हुन्छ भन्ने प्रश्नमा उनले परिवर्तनका लागि जहाँ उपयोगी हुन्छ, त्यहीँ सहयोगी भूमिका खेल्ने बताइन् । सुमना श्रेष्ठको शैक्षिक र व्यावसायिक पृष्ठभूमि अझै पनि प्रभावशाली मानिन्छ ।

अमेरिकाको एमआईटी स्लोन स्कुल अफ म्यानेजमेन्टबाट एमबीए, ब्रिन मार र ह्याभरफर्ड कलेजबाट अर्थशास्त्र तथा गणितमा स्नातक गरेकी उनी बोस्टन कन्सल्टिङ ग्रुप र सिटी ग्रुपमा काम गरिसकेकी छन् । २०७२ सालको महाभूकम्पपछि नेपाल फर्किएर पुनर्निर्माण, काष्ठमण्डप र रानीपोखरी संरक्षण, कोभिड–१९ खोपका लागि अन्तर्राष्ट्रिय पहल जस्ता अभियानमा उनी अग्रपंक्तिमा देखिइन् । कारपुल काठमाडौँ, मेडिकेसन फर नेपाल जस्ता परियोजना र उद्यमशील प्रयासमार्फत उनले नविन समाधान खोज्ने नेतृको छवि बनाएकी थिइन् । तर अहिले पार्टी, आन्दोलन र सत्ता–सबैतिरबाट दूरी बढ्दै जाँदा उनको राजनीतिक भविष्य कुन दिशामा मोडिन्छ भन्ने प्रश्न गहिरिँदै गएको छ । रास्वपामा पुनः फर्किने सम्भावना, बालेन–रवि समीकरणमा उनको स्थान र वैकल्पिक शक्तिहरूबीचको एकतामा उनले खेल्ने भूमिकाले नै अब सुमना श्रेष्ठको राजनीतिक यात्राको अर्को अध्याय तय गर्ने देखिन्छ ।

 

 

 

 

 

वैकल्पिकको एकता यात्रा: को-को छुटे, कोको समेटिँदै छन् ?

साढे तीन महिना चलेको अनौपचारिक छलफल र एक साताको रस्साकस्सीबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सात बुँदे सहमतिमा पुगेका छन् । समर्थकहरूमाझ ठूलो उत्साह ल्याउन सफल हुँदाहुँदै पनि यो सहमति नयाँ र वैकल्पिकहरूबीचको बृहत एकता गर्ने भनिए पनि यो रास्वपा र टिम बालेनबीचको एकता मात्रै हुन पुग्यो ।

यसअघि नै रास्वपासँग सहमति गरेको विवेकशील साझा यो एकतामा समेटियो । रास्वपा-विवेकशील एकता हुँदा छुटेका मिलन पाण्डे, रमेश पौडेल लगायत पूर्वविवेकशीलहरू हिजोको एकतापछि समावेश हुने तयारीमा छन् । छुट्टै पार्टी खोलेका खगेन्द्र सुनार र राप्रपामा रहेका ज्ञानेन्द्र शाही पनि बालेनको बाटो हुँदै रास्वपा पुग्दैछन् । खगेन्द्र सुनारले सार्वजनिक सबै मिले समावेश हुने बताइसकेका छन् भने ज्ञानेन्द्र शाहीले बालेनसँगको भेटमा रास्वपा र बालेन मिले आफू राप्रपा छोडेर आउन तयार रहेको बताएका थिए ।

तर, एक साताको रस्साकस्सीमा संलग्न कुलमान घिसिङ भने मिर्मिरे बिहानीको सहमतिमा अँटाउन सकेनन् । उनले एकतामा आफ्नो सम्मानजनक स्थान खोजेका थिए । पार्टी सभापति, चुनाव चिन्ह, पार्टीको नाम वा प्रधानमन्त्रीको उम्मेद्वारमध्ये कुनै एक त दिएर उज्यालो नेपाल पार्टीको देखिने अस्तित्व स्वीकार गरियोस् भन्ने उनको अडान थियो । तर, रवि र बालेनबीचको छलफल प्रधामन्त्रीको उम्मेद्वारका रुपमा बालेनलाई अघि सार्ने बिन्दूबाट सुरू भएको थियो, यसमा कुलमानको ठाउँ नै रहेन । यता, पार्टीको नाम रास्वपा र चुनाव चिन्ह घण्टी जनतामा परिचित भएको यसलाई फेर्ने पक्षमा रवि र बालेन दुवै थिएनन् ।

उनीहरूले कुलमानलाई पार्टीको वरिष्ठ नेताका रुपमा लामिछानेपछिको दोस्रो बरियता दिएर राख्ने प्रस्ताव गरे । यतिलेमात्रै हुँदैन भन्ने अडान राखेका कुलमानले अन्तिम क्षणमा महामन्त्री लगायत पदाधिकारीमा हिस्सा मागे । तर, यो छलफल लम्बिने भएपछि यसलाई थाँती राख्न रवि र बालेन सहमत भए । अनि, कुलमान सातबुँदेमा हस्ताक्षर गर्न सकेनन् ।

आइतबार बिहान आफू अझै पनि सकेसम्म एउटै पार्टीबाट मिलेर जाने र नभए चुनावमा सहकार्य गर्ने प्रयासमा रहेको बताएका छन् । ‘सबै नयाँ र वैकल्पिकहरू एक भएर जानुपर्ने, नभए कार्यगत एकता गरेर जानुपर्ने अवस्थामा हामी छौं,’ उनले भने, ‘त्यसैले, नयाँ मेनस्ट्रिम शक्तिहरूलाई म एकताको लागि आव्हान गर्छु ।’

यता, बालेनले एकतामा समावेश गर्न चाहका मधेशका दुई नयाँ पार्टीहरू सिके राउतको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीलाई पनि आइतबारे सहमतिले समेटेको छैन । उनीहरूसँग रास्वपामा नै आउन तयार हुन्छन् कि हुन्नन् भन्ने प्रश्न बाँकी नै छ । रास्वपामा नै आउन तयार नभए चुनावी सहकार्यको वातावरण मिलाउन बालेनको समूहले प्रयास गरिरहेको छ ।

धरानका मेयर हर्क साङपाङभने सुरू देखि नै एकता वा सहकार्यको पक्षमा छैनन् । सबैले चाहँदा पनि जेनजी आन्दोलनपछि बालेनले मुलुकको नेतृत्व गर्ने हिम्मत पनि नगरेको र आफूलाई प्रधामन्त्री बनाउन सहयोग पनि नगरेको भन्दै उनले सहकार्यको पक्षमा नरहेको बताएका छन् । उनले बालेन र रवि दुवैलाई विदेशीबाट परिचालित भएको आरोप लगाइरहेका छन् । त्यसैले, अहिलेसम्मको अवस्थामा साङ्पाङ एकतामा मात्रै होइन, चुनावी सहकार्य समेत हुने देखिएको छैन ।

धनगढीका मेयर गोपी हमालले भने आफू संसदीय राजनीतिमा नआए पनि एकता भएर आउने वैकल्पिक पार्टीलाई सहयोग गर्ने बताएका छन् ।

वैकल्पिक शक्ति दाबी गर्ने बाबुराम भट्टराईको नयाँ शक्ति भने माओवादी छोडेका जनार्दन शर्मासँग एकता गरेर प्रगतिशिल लोकतान्त्रिक पार्टी बनेको छ । यो पार्टी पनि रास्वपासँगको सहमतिमा आउने देखिँदैन ।

जेनजी आन्दोलनपछि उदाएका नेताहरूमध्ये रक्षा बम बालेनसँगै छिन् । बालेनले उनलाई सबै जेनजीहरूलाई समेट्ने जिम्मा दिएका छन् । अर्का नेता सुदन गुरूङ पनि अधिकांश समय बालेनसँगै देखिइरहेका छन् । उनले रवि र बालेनबीच सहमतिका लागि निरन्तर दबाव दिइरहेका थिए । जेनजी आन्दोलनबाट नेताका रुपमा उदाएका पुरुषोत्तम यादव यसअघि नै रास्वपा प्रवेश गरिसकेका छन् । आन्दोलनमै चर्चा कमाएका मिराज ढुंगाना भने यो संवादमा समेत देखिएका छैनन् ।

 

निर्वाचन आचारसंहिता स्वीकृत, के–के गर्न पाइँदैन ?

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ । आयोगको आइतबार बसेको बैठकले निर्वाचनमा पालना गर्नुपर्ने नियम र सीमा तय गरेको हो । निर्वाचन आचारसंहितामा राजनीतिक दल र उम्मेदवारले प्रचार गर्दा कुन सामग्री प्रयोग गर्न पाउने र कस्ता गतिविधि गर्न नपाउने भन्ने स्पष्ट व्यवस्था गरिएको छ । प्रचारमा सवारी साधन प्रयोग गर्दा आयोगले केही सीमितता राखेको छ ।

चुनावी प्रचारमा घोडादेखि हेलिकप्टरसम्म प्रयोग गर्न पाइने व्यवस्था भएपनि, आयोगले दुई जना ‘स्टार’ प्रचारक मात्र हेलिकप्टर प्रयोग गर्न पाउने अनुमति दिएको छ । आचारसंहितामा भनिएको छ, ‘राजनीतिक दलले प्रचार प्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्नेछ र आयोगले अनुमति दिएमा मात्रै मुख्य प्रचारकले हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने छन् ।’

त्यस्तै, उम्मेदवारले दुईपांग्रे, तीनपांग्रे वा चारपांग्रे सवारी साधन प्रयोग गर्न पाउने छन् । गाडी चल्न नसक्ने ठाउँमा चार घोडासम्मको प्रयोग गर्न पाइने व्यवस्था गरिएको छ । चुनावी प्रचारमा विदेशी नम्बर प्लेटको गाडी प्रयोग गर्न नपाइने र राष्ट्रिय झण्डाको प्रयोग १० वटाभन्दा बढी नगर्ने कडाइको नियम पनि रहेको छ ।

यस पटक आचारसंहितामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोगसम्बन्धी स्पष्ट निर्देश पनि समावेश गरिएको छ । आयोगले भनेको छ कि एआईको प्रयोग गरी निर्वाचनमा असर पार्ने, दुष्प्रचार गर्ने, भ्रामक सूचना फैलाउने वा अपमानजनक-द्वेषपूर्ण सामग्री निर्माण गर्ने काम गर्नु हुँदैन । सामाजिक सञ्जालमा एआई वा अन्य माध्यम प्रयोग गरेर सूचना तोडमोड गरी पोस्ट, शेयर, कमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सन जस्ता कार्य गर्न पनि निषेध गरिएको छ । निर्वाचन आचारसंहिताले यसरी प्रचारमा पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्ने उद्देश्य राखेको छ । आयोगले सबै राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

कांग्रेसले समानुपातिकमा नयाँलाई उम्मेदवार बनाउने

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकबाट सांसद बनेकाहरूलाई यस पटक उम्मेदवारमा नदोहोर्‍याउने निर्णय गरेको छ । समानुपातिकको बन्दसूचीमा राख्ने उम्मेदवारहरूको नाम छनोट गर्न बसिरहेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । समानुपातिक निर्वाचन प्रणाली लागू भएयता ०६४, ०७०, ०७४ र ०७९ सालमा भएका कुनै पनि निर्वाचनबाट समानुपातिक सूचीमा परी प्रतिनिधिसभा र प्रदेश सभामा सांसद बनेकाहरूलाई कांग्रेसले अब उम्मेदवार नबनाउने निर्णय गरेको हो ।

कार्यसम्पादन समितिका एक सदस्यले भने, ‘यसअघि भएका कुनै पनि निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशमा समानुपातिकबाट सांसद बनेकाहरूलाई अबको सूचीमा राखिने छैन । अहिलेसम्म मौका नपाए नयाँ उम्मेदवारहरू कांग्रेसको समानुपातिका सूचीमा रहने छन् ।’ कांग्रेसको कार्यसम्पादन समितिको बैठक अहिले पनि चलिरहेको छ । बैठकले समानुपातिक तर्फ बन्दसूचीमा रहने उम्मेदवारको नाम छनोट गर्नेछ । निर्वाचन आयोगमा समानुपातिकतर्फ उम्मेदवार सूची बुझाउने समय आज र भोलि छ। कांग्रेसले समानुपातिक उम्मेदवार सूची बनाइरहेको छ, सोही क्रममा सानेपामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । क्षेत्र, जिल्ला, प्रदेशबाट समानुपातिक उम्मेदवार सूची सिफारिसमा युवाहरू पनि समावेश भएका थिए ।

सकियो सभामुख–उपसभामुखको पदावधि : घिमिरेले निवास छोड्दै, रानाले गाडी फर्काइन्

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको पदावधि औपचारिक रूपमा समाप्त भएको छ । प्रतिनिधि सभा निर्वाचनको कार्यतालिकासँगै संविधानको व्यवस्था अनुसार उनीहरूको कार्यकाल गए राति १२ बजेदेखि सकिएको हो । सभामुख देवराज घिमिरेले कार्यकाल सकिएसँगै सरकारी निवास छोड्ने तयारी थालेका छन् । उनका सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार संसद् पुनस्र्थापनासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले प्रक्रियागत जटिलता नआओस् भन्ने उद्देश्यले घिमिरेले सार्वजनिक विदाइ कार्यक्रम नगरी जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन् ।

‘मुद्दा अदालतमा पुगेको अवस्थामा सार्वजनिक रूपमा घोषणा गरेर बिदा हुँदा पछि जवाफ दिन अप्ठ्यारो पर्न सक्छ भन्ने बुझाइका साथ उहाँ शान्त रूपमा बिदा हुन लाग्नु भएको हो’, अधिकारीले भने । उनका अनुसार अब घिमिरे कार्यालय जाने छैनन् र निजी आवासमा सर्ने तयारी समेत पूरा भइसकेको छ ।
संविधानमा प्रतिनिधि सभा विघटन भएको अवस्थामा बहाल रहेका सभामुख र उपसभामुख अर्को प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दिने अघिल्लो दिनसम्म मात्र पदमा रहने व्यवस्था छ । यही व्यवस्थाअनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रक्रियासँगै उनीहरूको पदावधि समाप्त भएको हो । अहिले निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउने काम भइरहेको छ ।

यसैबीच, उपसभामुख इन्दिरा रानामगरले पनि कार्यकाल समाप्त भएसँगै आफूले प्रयोग गर्दै आएको सरकारी गाडी संसद् सचिवालयलाई फिर्ता गरेकी छन् । उनले आफूलाई उपलब्ध गराइएका दुवै गाडीको साँचो बुझाउँदै सुरक्षासम्बन्धी गम्भीर गुनासो समेत व्यक्त गरिन् । रानामगरका अनुसार एउटा बीवाईडी गाडी र अर्को २२ वर्ष पुरानो ल्याण्डक्रुजर उनको प्रयोगमा थियो । ‘बीवाईडी गाडीको स्क्रिन स्पष्ट नदेखिने समस्या थियो, पटक–पटक दुर्घटनाको जोखिम भयो’, उनले भनिन्, ‘यसले धेरै पटक ठोक्किने अवस्था आयो, झण्डै मेरो ज्यानै जाने स्थिति पनि आयो । आज म यी दुवै गाडी फिर्ता गर्दैछु ।’ सभामुख र उपसभामुख दुवैको कार्यकाल समाप्त भएसँगै प्रतिनिधि सभाको नेतृत्व नयाँ राजनीतिक समीकरण र निर्वाचनपछिको परिणामअनुसार तय हुने भएको छ । अहिलेका लागि भने संसद्को शीर्ष नेतृत्वले औपचारिक जिम्मेवारीबाट विदा लिएसँगै राजनीतिक ध्यान निर्वाचन प्रक्रियातर्फ केन्द्रित भएको छ ।

 

 

राष्ट्रियसभाको अधिवेशन अविलम्ब बोलाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको अधिवेशन अविलम्ब बोलाउन माग गर्दै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेटवार्ता गरेको छ । कांग्रेस राष्ट्रियसभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वको टोलीले आज अध्यक्ष दाहाललाई भेटेर कांग्रेस संसदीय दलको निर्णबारे जानकारी गराउँदै सो माग गरेको हो । भेटमा राष्ट्रियसभा सदस्य कमला देवी पन्त, किरणबाबु श्रेष्ठ, विष्णु सापकोटा र पदम परियारलगायत सहभागी थिए ।

यही पुस १० गते बसेको कांग्रेस संसदीय दलको बैठकले ‘देशमा बदलिएको राजनीतिक विषम परिस्थितिमा असंवैधानिक ढङ्गबाट प्रतिनिधिसभा विघटन भएको भन्दै राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न माग गर्ने निर्णय गरेको थियो । जनताका आवाज उठाउने सार्वभौम संघीय संसद्अन्तर्गत राष्ट्रियसभा मात्र कायम रहेको हुँदा राष्ट्रियसभाको बैठक बस्न आवश्यक भएकाले अविलम्ब राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न कांग्रेसले माग गरेको थियो ।

समानुपातिक बन्दसूची : कसैले बुझाए, कोही तयारीमा

काठमाडौं । फागुन २१ गते तय प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरू समानुपातिकतर्फको बन्दसूची बुझाउन व्यस्त देखिएका छन् । निर्वाचन आयोगले तोकेको समयसीमाभित्र अहिलेसम्म नेपाल मजदुर किसान पार्टीसहित तीन दलले १३४ जनाको बन्दसूची पेश गरिसकेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस १३ र १४ गते (आइतबार र सोमबार) दुई दिनका लागि बन्दसूची बुझाउने समय तोकिएको हो । आयोगले प्रक्रिया दुई चरणमा अघि बढाएको छ । पहिलो चरणमा दलले सिफारिस गरेका नाम मतदाता नामावलीमा छन् कि छैनन् भन्ने यकिन गरी निस्सा दिने र त्यसपछि मात्रै सूची दर्ता गर्ने व्यवस्था छ । आयोगले समय थप नहुने स्पष्ट पार्दै सोमबार साँझ ६ बजेसम्म आउने दललाई मात्र सेवा दिने जनाएको छ ।

यसैबीच नेपाली कांग्रेसले बन्दसूची बुझाउने समय केही पर सार्न दबाब दिएको भए पनि आयोगले समग्र निर्वाचन तालिका प्रभावित हुने भन्दै अस्वीकार गरेको छ । आयोगको भनाइ छ—अहिले सूची बुझाएर पछि कानुनअनुसार सच्याउन सकिन्छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा समेत समय सार्ने प्रस्ताव गरेका थिए । प्रक्रिया नपुगेका कारण श्रम संस्कृति पार्टी र राष्ट्रवादी युवा मोर्चालाई आयोगले बन्दसूची फिर्ता लगेर कागजात पूरा गरी आउन निर्देशन दिएको छ । आयोगले पुस १५ देखि २० गतेसम्म बन्दसूची छानबिन गर्ने र आवश्यक परे पुस २१ देखि २७ गतेसम्म संशोधनको समय दिने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

दलहरू आन्तरिक रूपमा पनि उम्मेदवार टुंग्याउन व्यस्त छन् । नेकपा एमालेले सचिवालय बैठकमार्फत समानुपातिक उम्मेदवारबारे छलफल गरिरहेको छ । अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले तयार पारेको प्रारम्भिक सूचीमाथि बैठकमा गहन छलफल भइरहेको छ । उता राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि समानुपातिक सूचीलाई लिएर चासो बढेको छ । पार्टी नेतृत्व र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बसेर संयुक्त सहमतिमा सूची तयार गर्ने बताइएको छ । प्रत्यक्षतर्फ भने पार्टीभित्र प्रतिस्पर्धामार्फत उम्मेदवार छनोट गरिनेछ । फागुन २१ को निर्वाचनको अन्योल कायमै रहँदा पनि निर्वाचन आयोग आफ्नो कार्यतालिकामा अडिग देखिएको छ । दलहरूलाई समावेशिता, कानुनी मापदण्ड र समय सीमाभित्र सूची बुझाउन आयोगको कडा सन्देश छ ।

 

 

महाधिवेशनपछि पहिलो एमाले सचिवालय बैठक {तस्वीरहरु}

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनपछि पहिलो सचिवालय बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा बैठक शुरु भएको हो । बैठकमा मुख्य रूपमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूचि अन्तिम रूप दिने एजेण्डा रहेको छ । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूचि बुझाउने अन्तिम मिति आज नै तोकेकाले बैठकले यसलाई प्राथमिकतामा राखेर छलफल गरिरहेको पार्टी स्रोतले जनाएको छ ।

जिल्ला र प्रदेश तहबाट सिफारिस भएका नामहरूको आधारमा छोटो सूची तयार पारिएको र आजको बैठकबाट अन्तिम निर्णय गरी आयोगमा बुझाउने तयारी छ । बैठकमा पार्टीको कार्यालय व्यवस्थापन, वर्तमान राजनीतिक स्थिति र अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसँग भएको छलफलको ब्रिफिङलगायत विषयमा पनि छलफल हुने बताइएको छ । महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको यो पहिलो सचिवालय बैठक भएकाले यसलाई विशेष महत्वका साथ हेरिएको छ ।
तस्वीरहरु : बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी

एमाले नेता भन्छन्–रवि र बालेनको एकताले खासै अर्थ राख्दैन

काठमाडौँ । नेकपा एमालेका नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) बीच भएको ‘वृहत् एकता’ लाई खासै राजनीतिक महत्व नहुने दाबी गरेका छन् । उनीहरूका अनुसार उक्त सहमतिले न त नेपाली राजनीतिको मूलधारमा ठुलो असर पार्छ, न त जनतामा बलियो प्रभाव छोड्न सक्छ । एमाले नेता मानवीर राईले रवि लामिछाने र बालेन साहबीचको राजनीतिक मिलन वा विमिलन दुवैलाई अर्थहीन ठहर गरे । उनले यी नेताहरूको राजनीति जनआधारित नभएको आरोप लगाउँदै बाह्य प्रभाव र इशारामा चल्ने राजनीति वर्तमान नेपाली परिवेशमा दीर्घकालीन प्रभाव पार्न नसक्ने दाबी गरे ।

राईका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनमा बालेन साह निर्वाचित हुँदा काठमाडौँका जनतामा ठुलो आशा र अपेक्षा थियो । तर समयक्रममा उनका गतिविधिले ती अपेक्षा पूरा गर्न नसकेको उनले आरोप लगाए । काठमाडौँ महानगरभित्र भइरहेका अधिकांश सडक तथा पूर्वाधार निर्माण संघीय सरकारअन्तर्गत सडक विभाग र सडक डिभिजनमार्फत भइरहेको उल्लेख गर्दै उनले महानगरको प्रत्यक्ष योगदान देखिन नसकेको बताए ।

उनले विकास निर्माणमा ठोस उपलब्धि नदेखिएको आरोप लगाउँदै बालेन साहले मकै पोलेर जीविकोपार्जन गर्नेहरूलाई हटाउने जस्ता कार्यबाहेक उल्लेख्य काम नगरेको दाबी गरे । विभिन्न राजनीतिक कार्यक्रमहरूमा जरिवाना घोषणा गरेर ‘स्टन्टबाजी’ मात्र गरिएको उनको टिप्पणी छ । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र हिंसात्मक घटनामा काठमाडौँ महानगरपालिकाले दमकल नपठाएको आरोप पनि राईले लगाए । उनका अनुसार यसले प्रमुख साहको विकास, समृद्धि र सार्वजनिक सुरक्षाप्रतिको संवेदनशीलता नदेखाएको संकेत गर्छ । उनले ललितपुर महानगरले दमकल पठाएको उदाहरण दिँदै काठमाडौँ महानगरको भूमिकामाथि प्रश्न उठाए ।

राईले चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति हाँस्यास्पद भएको टिप्पणी गरे । २०६४ सालमा माओवादीले पुष्पकमल दाहाललाई भावी राष्ट्रपतिको उम्मेदवार घोषणा गरे पनि अन्ततः राष्ट्रपति बन्न नसकेको उदाहरण दिँदै उनले बालेन साह सांसद बन्ने विषयमै शंका व्यक्त गरे । साथै, रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा सबैभन्दा धेरै धरौटी बुझाएर बाहिरिएको पात्र भएको उल्लेख गर्दै उनीहरू जनतामाझ अपेक्षित सफलता हासिल गर्न नसक्ने दाबी गरे ।

यद्यपि एमालेका अर्का नेता लालबाबु पण्डितले भने राजनीतिक दलहरूबीच एकता हुनु सकारात्मक भएको धारणा राखे । उनले नेपालमा राजनीतिक दलहरूको अत्यधिक संख्या अस्थिरताको कारण बनेको बताउँदै ध्रुवीकरण आवश्यक रहेको जिकिर गरे । हाल देशमा १५२ भन्दा बढी दल रहेको उल्लेख गर्दै पाँच वटा जति प्रमुख दलबीच प्रतिस्पर्धा भए मात्र बहुमतको सरकार, राजनीतिक स्थायित्व, विकास र समृद्धि सम्भव हुने उनको भनाइ छ ।

पण्डितले एमाले कुनै पनि गठबन्धनसँग प्रतिस्पर्धा गर्न तयार रहेको स्पष्ट पार्दै कोही पार्टी मिल्दैमा अर्को समाप्त हुन्छ भन्ने बुझाइ गलत भएको बताए । उनका अनुसार लोकतन्त्रमा अनुशासन, नैतिकता र समर्पण आवश्यक हुन्छ, नभए राजनीति अवसरवादमा सीमित हुन्छ । यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र साहबीच आइतबार बिहान ‘वृहत् एकता’ सम्बन्धी ७ बुँदे सहमतिमा हस्ताक्षर भएको छ । सहमतिअनुसार निर्वाचनपछि साह संसदीय दलका नेता बन्नेछन् भने रवि लामिछाने पार्टी सभापतिकै रूपमा रहने छन् । पार्टी संरचना भने पूर्ण रूपमा रास्वपाकै रहने उल्लेख गरिएको छ ।

 

पम्फा भुसाल आगामी चुनाव नलड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नेता पम्फा भुसालले आउँदो फागुन २१ गतेको निर्वाचन नलड्ने घोषणा गरेकी छन् । उनले समानुपातिक र प्रत्यक्ष दुवै निर्वाचन प्रणालीमा उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् । सामाजिक सञ्जाल फेसबुकमा आज लेँदै उनले भनेकी छन्, ‘यस पटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु ।’ तत्कालीन माओवादीबाट दुई पटक प्रत्यक्ष निर्वाचित भएर मन्त्री समेत बनिसकेकी भुसालले अब त्यो अनुभवलाई पार्टीमा उपयोग गर्ने बताएकी छन् ।

‘म पहिले नै दुई पटक प्रत्यक्ष निर्वाचन जितिसकेको छु र पटक–पटक मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेको छु । अब त्यो राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ ।’ उनले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने बताएकी छन् । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष चुनाव जित्ने उनी एक्ली महिला उम्मेदवार हुन् । २०७९ को निर्वाचनमा उनी ललितपुर क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार तोसिमा कार्कीसँग पराजित भएकी थिइन् ।

 

 

जेनजी आन्दोलन रास्वपा र मेयर साहले सत्ता स्वार्थका लागि ‘हाइज्याक’ गर्न खोजे : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीच भएको एकतालाई अन्यथा लिन नहुने बताएका छन् । उनले एजेण्डा मिल्दा एकीकरण हुने र नमिल्दा छुट्टिने कुरालाई समान्य रुपमा लिनुपर्ने बताए। लोकतान्त्रिक प्रक्रियामा राजनीतिक दलहरु मिल्ने र विभाजन हुने कुरालाई अनौठो मान्न नहुने उनको भनाई छ । उनले आगामी निर्वाचनलाई लक्षित गरेर रास्वपा र प्रमुख साहले पनि एकताको घोषणा गरेको उल्लेख गरे ।

उनले नेपालको लोकतान्त्रिक प्रक्रियालाई पारदर्शी र स्वच्छ बनाउन, खण्डित भएको संवैधानिक प्रक्रियालाई सही बाटोमा ल्याउन र स्थायी शान्तिमार्फत दिगो विकासको योजनालाई अगाडि बढाउन राजनीतिक प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्नेमा जोड दिए । त्यसको लागि नेकपा एमाले तयार रहेको उनको भनाई छ । उनले पवित्र उद्देश्यले भदौमा भएको जेन–जी आन्दोलनलाई रास्वपा र बालेन्द्र साहले सत्तास्वार्थको लागि हाईज्याक गर्न खोजेको भन्दै जेन–जी अगुवाहरुलाई सजक रहन पनि आग्रह गरे ।

उनले भने, ‘लोकतान्त्रिक परिपाटीमा कुनै पनि व्यक्ति वा समूह एकआपसमा मिल्नु र विषय नमिल्दा अलग अलग ढंगले विभाजित हुने कुरालाई अनौठो मान्न सकिदैन । त्यही क्रममा आगामी निर्वाचनलाई ध्यान दिँदै केही राजनीतिक व्यक्ति र शक्तिहरु एकआपसमा मिलेको घोषणा गर्नु भएको छ । त्यसलाई मैले अन्यथा रुपमा लिन चाहन्न । मुख्य कुरा के हो भने नेपालको लोकतान्त्रिक प्रक्रियालाई कसरी पारदर्शी र स्वच्छ बनाउने, हाम्रो खण्डित भएको संवैधानिक प्रक्रियालाई कसरी पुनरलिकमा ल्याउने र नेपालमा स्थायी शान्तिमार्फत दिगो विकासको योजनालाई कसरी अगाडि बढाउने ? यो आजको दिनमा सबैभन्दा महत्वपूर्ण कुरा हो ।’

उनले भने, ‘यसका निम्ति राजनीतिक प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्ने हो । नेकपा एमाले कुनैपनि चुनौतीसँग सामाना गर्न तयार छ । जेन–जी आन्दोलन जुन भदौ २३ गते भएको थियो । त्यो हाम्रो नवयुवा पुस्ताहरुको एउटा आन्दोलन थियो, त्यो जागरण थियो । त्यो जागरण सुशासनको निम्ति थियो, भ्रष्टाचार अन्त्य गर्नको लागि थियो, सामाजिक सञ्जाललाई खोल्नपर्ने भन्ने कुराहरुसँग थियो । यी पवित्र मागहरु हुन् ।’

भट्टराईले भने, ‘पवित्र मागहरुसहित पवित्र आत्माहरु त्यो आन्दोनलमा थिए । ती पवित्र माग र पवित्र आत्मालाई कुनैपनि गलत राजनीतिक उदेश्य र व्यक्तिहरुको स्वार्थपूर्ति गर्नको निम्ति प्रयोग नहोस् भन्ने कुरामा हामी सबै सचेत हुनुपर्छ । जेन–जी आन्दोलनका अगुवाहरु पनि यसमा सचेत होउन् । आफ्नो आन्दोलन हाइज्याक गरेर राजनीतिक स्वार्थसत्ताको रोटी सेक्न र व्यक्तिगत स्वार्थको रोटी सेक्न आफ्ना आन्दोलन र एजेण्डा हाईज्याक भए की भन्नेकुरामा जेन–जी अगुवाहरुले पनि ध्यान दिउन् ।’ उपमहासचिव भट्टराईले एमाले आगामी निर्वाचनमा बहुमत ल्याउनेगरी तयारीमा लागेको पनि बताए । उनले हाल पार्टीमाथि चौतर्फी आक्रमण भएको उल्लेख गर्दै आन्तरिक पार्टी एकतलाई बलियो बनाउने गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह समेत गरे । उनले चुनावको तयारीको लागि पार्टीभित्रका आन्तरिक मतभेदहरुलाई थाँती राखेर सबै एकजुट हुन आवश्यक रहेको बताए ।

सुध्रिन नसके कांग्रेसको चारैतिर चुनौति नै चुनौति छन् : नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सुध्रिन सके नेपाली कांग्रेसले कसैको वैशाखी टेक्न जरुरी नरहेको बताएका छन् ।आइतबार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेस सुध्रिन नसके चारैतिर चुनौति नै चुनौति रहेको टिप्पणी गरे । उनले सुध्रिएर जनता माझ जानसके तल्लोेस्तरसम्म संगठन भएको कांग्रेसलाई कसैको वैशाखी टेक्न जरुरी नरहेको बताए । कांग्रेस आफै लोकतन्त्रको संरक्षक, संवाहक भएको जिकिर गरे ।

उनले भने, ‘हामी सुध्रिएनौँ भने त चारैतिर चुनौति नै चुनौति छ । हामी सुध्रियौँ भने गाउँगाउँसम्म संगठन छ, इतिहासमा गरेका योगदान, विकासका कुराहरुलाई अब सुधार गर्छौं भनेर जाँदा जुनसुकै शक्ति आए पनि कांग्रेसले कसैको वैशाखी टेकेर हिँड्नु पर्दैन । कांग्रेस आफै लोकतन्त्रको संरक्षक, संवाहक हो ।’ कांग्रेस नेता रामनाथ अधिकारीले पुस महिनाभित्र केन्द्रिय महाधिवेशन गरिसक्नुपर्ने भए पनि केही समय सर्नसक्ने अवस्था रहेको बताए । उनले क्रियाशिल सदस्यता टुंग्याएर छिटो महाधिवेशन गर्नुपर्ने बताए । छिटो महाधिवेशन गर्न आफ्नो जोडबल रहने बताए ।

उनले भने, ‘पुस महिनाभित्र केन्द्रिय महाधिवेशन गरिसक्नु पर्ने हो । क्रियाशिल सदस्यताका कारण केही समय हेरफेर हुँदैछ भन्ने बुझिएको छ । क्रियाशिल सदस्यहरु दुई दिनभित्रमा सम्पन्न गरेर जिल्लामा पठाए वडा तहबाट महाधिवेशन सम्पन्न हुनेछ । त्यसमा मेरो जोडबल रहन्छ । बदलिँदो परिस्थितिमा बदलिँदो ढंगबाट हामी अघि बढ्नुपर्छ । मेरो पार्टीले पनि त्यो किसिमको निर्णय लेला भन्ने विश्वास छ ।’ नेता अधिकारीले आगामी निर्वाचन नलड्ने घोषणा गरे पनि पार्टी राजनीतिमा आफू सक्रिय रहने बताए ।

 

रवि–बालेन सहमतिपछि ‘आक्रामक’ हर्क : ‘फटाहाहरू’ ले विदेशीको इशारामा देश चलाउने रे !

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहबीच ७ बुँदे सहमति सार्वजनिक भएपछि धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सामाजिक सञ्जालमा आक्रामक रूपमा प्रस्तुत भएका छन् । आइतबार बिहानदेखि उनले लगातार फेसबुक स्टाटस, भिडियो लिङ्क र लाइभमार्फत नयाँ तथा वैकल्पिक भनिएका राजनीतिक शक्तिमाथि कडा टिप्पणी गरेका छन् ।

आइतबार बिहान ७ः२६ बजे पहिलो स्टाटस लेखेका साम्पाङले अपराह्न १२ः१२ बजेसम्म ५ घण्टाको अवधिमा ३७ वटा स्टाटस र सामग्री शेयर गरेका छन् । उनका अधिकांश अभिव्यक्तिहरू रवि–बालेन सहकार्य केन्द्रित छन् । साम्पाङले उक्त सहमतिलाई ‘विदेशीको इशारामा देश चलाउने प्रयास’ को संज्ञा दिँदै ती नेताहरूलाई ‘डलरे’ र ‘विदेशीद्वारा पालित–पोषित’ समेत भनेका छन् ।

उनले लेखेका छन्, ‘जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ । फटाहाहरू । सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे ।’ यस अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक बहस र प्रतिक्रिया जन्माएको छ । साम्पाङ पछिल्लो समय कांग्रेस, एमाले र माओवादी जस्ता पुराना दलहरूभन्दा पनि नयाँ दल र नेताप्रति बढी आक्रामक देखिएका छन् । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङदेखि रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन साहसम्मलाई उनले पटक–पटक विदेशी प्रभावमा चलेको आरोप लगाएका छन् । उनका अनुसार ‘मिडिया ट्रायल’ मार्फत प्रधानमन्त्री घोषणा गर्ने प्रवृत्ति खतरनाक छ र श्रम संस्कृति पार्टी विदेशी दलाली गर्ने शक्तिसँग सहकार्य नगर्ने अडानमा छ ।

यसैबीच, साम्पाङले आफ्नो पार्टीका नेता मित्र परियारलाई निष्काशन गर्नुको कारणबारे पनि स्पष्ट पारेका छन् । उनले कारबाहीका दुई कारण उल्लेख गर्दै आयोजक श्रमदातालाई अपमानजनक र दम्भी व्यवहार देखाएको तथा श्रमदातामाथि असभ्य भाषा प्रयोग गरेको बताएका छन् । आफ्नो कार्यशैलीको बचाउ गर्दै साम्पाङले ‘हर्कवाद’ र ‘श्रम संस्कृति’ को अवधारणालाई निरन्तर अघि सारेका छन् ।

ढुङ्गा बोकेको तस्बिर शेयर गर्दै उनले लेखेका छन्, ‘यो वाद, त्यो वाद भन्दै रात पार्नेहरूलाई देश विकासमा ढुङ्गा बोकाउने धोको छ । जय हर्कवाद ।’ उनको दाबी छ–आगामी निर्वाचनमा श्रम संस्कृतिले नै बहुमत ल्याउनेछ र अन्य शक्तिहरू केवल मिडियामै सीमित छन् । आइतबार उनले दुई पटक फेसबुक लाइभ समेत गरेका थिए । ती लाइभमा उनी भावनात्मक र केही तनावग्रस्त देखिएका थिए । सामाजिक सञ्जालमार्फत निरन्तर अभिव्यक्ति दिँदै आएका साम्पाङका यी गतिविधिले स्थानीय राजनीति मात्र होइन, राष्ट्रिय राजनीतिक बहसलाई समेत तताएको छ ।

ब्राजिलमा सडक दुर्घटना परी ११ जनाको मृत्यु

एजेन्सी । ब्राजिलकाे उत्तरपूर्वी राज्य बाहियामा भएको गम्भीर सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

सङ्घीय राजमार्ग प्रहरीका अनुसार मृतकमध्ये दुई जना दुई र चार वर्षका बालबालिका रहेका छन् । दक्षिण बाहियाको मुकुरी नगर नजिकै रहेको सङ्घीय राजमार्गमा दुई सवारी साधन एकआपसमा आमनेसामने ठोक्किएका थिए । ठक्करपछि दुवै सवारी साधनमा आगलागी भएको जनाइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालकहरूमध्ये एकले गलत तरिकाले अगाडि बढ्ने प्रयास गर्दा दुर्घटना भएको अनुमान गरिएको छ ।

राजमार्ग सञ्चालन गर्ने कम्पनीले दिएको जानकारीअनुसार घटनास्थलमै १० जनाको ज्यान गएको थियो भने एक जनाको उपचारका क्रममा स्वास्थ्य संस्थामा मृत्यु भएको हो । हालसम्म मृतकहरूको नाम सार्वजनिक गरिएको छैन । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

चीनले गर्यो ‘फेङ्ग्युन –४–०३’ उपग्रहको सफलतापूर्वक प्रक्षेपण

एजेन्सी । चीनले शनिबार देशको दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित  शिचाङ्ग उपग्रह प्रक्षेपण केन्द्रबाट नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

‘फेङ्ग्युन–४–०३’ नामक उपग्रहलाई’ लङ मार्च–३ बी’ रकेटमार्फत बिहान १२ बजेर ७ मिनेटमा (बेइजिङ समयअनुसार) प्रक्षेपण गरिएको हो । प्रक्षेपणपछि उक्त उपग्रह निर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेको जनाइएको छ ।

‘फेङ्ग्युन–४–०३’ चीनले विकास गरेको मौसम अवलोकन उपग्रह हो, जसले मौसम पूर्वानुमान, जलवायु अनुगमन, प्राकृतिक प्रकोपको प्रारम्भिक चेतावनी तथा वातावरणीय अवलोकन जस्ता कार्यमा सहयोग पु¥याउँछ । यस उपग्रहमा उन्नत उपकरणहरू जडान गरिएका छन्, जसले बादल, वर्षा, आँधी, तापक्रम तथा वायुमण्डलीय गतिविधिको सूक्ष्म र निरन्तर निगरानी गर्न सक्षम बनाउँछ । यसबाट प्राप्त तथ्याङ्कले जनजीवन सुरक्षा, कृषि, उड्डयन, जलस्रोत व्यवस्थापन तथा आपतकालीन व्यवस्थापनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

यो प्रक्षेपण ‘लङ मार्च’ रकेट शृङ्खलाको ६२१ औँ उडान रहेको चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन् ।

थाइल्यान्ड–कम्बोडिया सीमा युद्धविराम

एजेन्सी।  थाइल्यान्ड र कम्बोडियाले विवादित सीमा क्षेत्रमा हप्तौँदेखि जारी लडाइँ अन्त्य गर्न शनिबार नयाँ युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । दिउँसोदेखि लागू भएको यस सम्झौताले दुवै पक्षलाई सैन्य गतिविधि रोक्न, हवाई क्षेत्र उल्लङ्घन नगर्न र तनाव कम गर्न आह्वान गरेको छ ।

कम्बोडियाको रक्षा मन्त्रालयका अनुसार सम्झौता हुनुअघि शनिबार बिहानसम्म थाइल्यान्डले कम्बोडियाका केही स्थानमा हवाई आक्रमण गरेको थियो । नयाँ सम्झौताले ७२ घण्टाको युद्धविरामपछि थाइल्यान्डले जुलाईको लडाइँपछि नियन्त्रणमा लिएका १८ जना कम्बोडियाली सैनिकलाई फिर्ता गर्नुपर्ने व्यवस्था गरेको छ, जुन कम्बोडियाको प्रमुख माग रहँदै आएको थियो ।

सम्झौतामा हस्ताक्षर भएको केही घन्टामै थाइल्यान्डको विदेश मन्त्रालयले विरोध जनाउँदै एक थाई सैनिक कम्बोडियाली पक्षले बिछ्याएको मानवविरोधी बारुदी सुरुङमा परेर स्थायी रूपमा अशक्त भएको जनाएको छ ।

यो सम्झौतामा कम्बोडियाका रक्षामन्त्री टी सेइहा र थाइल्यान्डका रक्षामन्त्री नट्टाफोन नार्कफानितले सीमावर्ती चौकीमै हस्ताक्षर गर्नुभएको हो । तीन दिनसम्म चलेको तल्लो तहका सैनिक वार्तापछि यो सहमति सम्भव भएको हो । यसले जुलाईमा पाँच दिन चलेको लडाइँ अन्त्य गर्न गरिएको अघिल्लो युद्धविराम र त्यसपछि भएका सहमतिहरूप्रति प्रतिबद्धता दोहोर्‍याएको छ ।

जुलाईको युद्धविराम मलेसियाको मध्यस्थतामा भएको थियो, जसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबले गति दिएको थियो । अक्टोबरमा मलेसियामै भएको क्षेत्रीय बैठकमा ती सहमतिहरूलाई औपचारिक रूप दिइएको थियो । तर त्यसपछि पनि दुवै देशबीच प्रचार युद्ध र सीमापार झडप जारी रहेर डिसेम्बरको सुरुमा पुनः ठूलो लडाइँमा परिणत भएको थियो ।

युद्धविरामको घोषणाको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले स्वागत गर्दै थाइल्यान्ड र कम्बोडियालाई यस र अघिल्ला शान्ति सम्झौताका सबै सर्त पालना गर्न आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यसलाई ‘नागरिकको पीडा कम गर्ने र स्थायी शान्तितर्फको सकारात्मक कदम’ भन्नुभएको छ ।

चीनले पनि सम्झौताको स्वागत गर्दै युनान प्रान्तमा थाई र कम्बोडियाली विदेश मन्त्रीहरूसँग त्रिपक्षीय वार्ता गर्ने तयारी जनाएको छ । चीनले राजनीतिक विश्वास पुनर्निर्माण र क्षेत्रीय शान्तिका लागि रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

डिसेम्बर ७ देखि सुरु भएको लडाइँका कारण थाइल्यान्डतर्फ २६ सैनिक र एक सर्वसाधारणको ज्यान गएको छ भने ४४ सर्वसाधारण मारिएको थाइल्यान्डको दाबी छ । कम्बोडियाले ३० सर्वसाधारणको मृत्यु र ९० जना घाइते भएको जनाएको छ । सीमाको दुवैपट्टि लाखौँ नागरिक विस्थापित भएका छन् ।

रक्षामन्त्री टी सेइहाले युद्धविरामले विस्थापित नागरिकलाई घर फर्कन, खेतीपाती गर्न र बालबालिकालाई विद्यालय फर्कन बाटो खुल्ने बताउनुभयो । दुवै पक्षले एक–अर्कालाई लडाइँ सुरु गरेको आरोप लगाए पनि आत्मरक्षामा कदम चालिएको दाबी गरेका छन् ।

सम्झौताले बारुदी सुरुङसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि पालना गर्न, संयुक्त डिमाइनिङ अभियान सञ्चालन गर्न, गलत सूचना नफैलाउन र सीमाङ्कनसम्बन्धी प्रक्रिया पुनः सुरु गर्न आह्वान गरेको छ । साथै, सीमापार सङ्गठित अपराध र अनलाइन ठगी नियन्त्रणमा सहकार्य गर्ने सहमति पनि भएको छ ।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले सम्झौताले नागरिकको हितलाई प्राथमिकतामा राख्ने साझा समझदारी झल्काएको बताउनुभयो । यद्यपि थाइल्यान्डले ७२ घण्टाको युद्धविरामलाई कम्बोडियाले साँच्चिकै हतियार र उक्साहट रोकेको छ कि छैन भन्ने परीक्षणको समयका रूपमा हेरिएको जनाएको छ ।

 

रवि र बालेन बसेर समानुपातिक उम्मेदवार टुंगो लगाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भावी प्रधानमन्त्री र दोस्रो वरीयताको नेता हुन सहमति गरेसँगै आसन्न निर्वाचनका लागि उम्मेदवारीमा उनले कति हिस्सा माग्छन् भन्ने चर्चा सुरू भएको छ । पार्टी तथा चुनावका लागि हुने उम्मेदवारीमा बालेन पक्षको कति प्रतिशत हिस्सेदारी हुनेबारे अहिले कुनै सहमति नभएको रास्वपाका नेता शिशिर खनाल बताउँछन् । फागुन २१ मा हुने प्रतिनिधिसभाका लागि निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउने म्याद भोलिसम्म मात्र बाँकी छ ।त्यसो भए, अब कसरी उनीहरूले उम्मेदवार छान्छन् त ?

दुवै जना बसेर समानुपातिकका लागि सूची तयार गर्ने उनले बताएका छन् । ‘आफ्नो आफ्नो सूची बनाउनु हुन्छ । दुवै जना बसेर आफ्ना आफ्ना सूचीमा छलफल गर्नु हुन्छ । दुवैको सहमतिमा सूची तयार हुन्छ,’ उनले भने,‘अहिले यो विषय खुला राखिएको पनि त्यही भएर हो ।’ प्रत्यक्ष निर्वाचनका लागि भने रास्वपाले पार्टीभित्र चुनाव गराएर उम्मेदवार चयन गर्छ । त्यसका लागि बालेन पक्षका उम्मेदवारहरूले पनि प्रतिस्पर्धामा भाग लिनुपर्ने हुन्छ । शनिबार राति भएको सम्झौतामा एकता पश्चात् योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानेर अनुभवी विज्ञहरूलाई समावेश गर्दै संगठनात्मक संरचना थप गर्ने अनि निर्वाचन आयोगमा दस्तावेज अद्यावधिक गर्ने उल्लेख छ ।

 

‘सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन्’

काठमाडौं । नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले १० वर्ष पार्टी चलाएर देखाउन नयाँ राजनीतिक दलहरुलाई चुनौति दिएका छन् । आइतबार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो चुनौति दिएका हुन् । उनले केही वर्षअघि मात्रै खुलेका जनमत, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टीहरुको उदाहरण दिँदै १० वर्ष राम्रोसँग पार्टी चलाएर देखाउन चुनौति दिए । उनले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलहरुले जनताको अधिकार, विकास दिएको बताउँँदै सहकारी ठग र गँजेडीहरुले देश चलाउन नसक्ने टिप्पणी गरे ।

उनले भने, ‘यी नयाँ पार्टीहरु कुरा ठूला गर्छन्, चर्काचर्का कुरा गर्छन् । १० वर्ष पार्टी चलाएर देखाउन् । त्यसपछि कुरा गरौँला । ५ वर्ष चलाउन सकेका छैनन् । सबैले राजनीति गर्न पाउने अवस्था सिर्जना गर्न नै हामीले यति लामो संघर्ष गरेका हौँ ।’ उनले भने, ‘युक्रेनमा हिजो एउटा पपुलिस्ट कलाकारलाई राष्ट्रपति बनाउँदाको परिणाम आज जे भोगिरहेको छ, नेपालमा पनि यी गैरजिम्मेवार पार्टी, सहकारी ठग, दलाल, गँजेडीहरुले हामी ८० वर्ष लामो संघर्ष गरेको पार्टीले विकास, जनतालाई अधिकार दियौँ । भ्रष्टाचार नियन्त्रण मात्रै हामीले गर्न सकेका छैनौँ । भ्रष्टाचार नियन्त्रण अहिले पनि हुन सकेको छैन । भोलि आउने सरकारले पनि गर्न सक्दैन ।’ उनले पार्टीको १४ औं महाधिवेशनमा पराजय व्यहोरेकाहरुले चिच्याएर बोल्न जरुरी नरहेको बताए । उनले फागुन २१ गते निर्वाचन नभए देश गृहयुद्धमा फस्ने चेतावनी समेत दिए ।

 

 

 

रवि–बालेन सहमतिलाई अनौठो मान्नु पर्दैन : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीचको मिलन कुनै अनौठो नभएको बताएका छन् । पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो टिप्पणी गरेका हुन्।

उनले रास्वपा सभापति रवि लामिछाने र साहबीचको सहमति राजनीतिमा कुनै अनौठो नरहेको बताए । उनले राजनीतिमा कोको जुट्छन् र कोको फुट्छन् भन्ने कुरा कांग्रेसलाई चासोको विषयको नभएको बताए । उनले राजनीतिमा फुट्ने र जुट्ने भइरहने भएकाले अनौठो मान्न नहुने बताए । राजनीतिमा सबैखाले चुनौति आउने भन्दै हरेक चुनौतिको सामना गरेर आएको कांग्रेसले यसलाई गम्भीर रुपमा लिन आवश्यक नरहेको बताए ।

उनले भने, ‘बालेन र रविको सहमतिलाई मैले अनौठो मानेको छैन । कोको मिल्छन्, कोको जुट्छन्, कोको फुट्छन् । राजनीतिक यात्रामा यो भइरहने हो । त्यसकारण यो अनौठो मान्नु पर्दैन । राजनीतिमा सबै चुनौतिहरु हुन्छन् । राजनीति सरल ढंगबाट अघि बढ्दैन । राजनीति भनेको चुनौति हो । हरेक चुनौतिको सामना गर्न तयार भएको कांग्रेसले राणाकालीन चुनौति, पञ्चायती चुनौति फेस गरेको कारणले अब अहिले आएर कोको मिल्छन् त्यसलाई खासै गम्भीर ढंगले लिएको छैन ।’ उपसभापति गुरुङले राजनीति सरल ढंगबाट अघि नबढ्ने बताए ।

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी, जेनजी प्रतिनिधिसहितको सर्वपक्षीय बैठकपछि आगामी फागुन २१ गतेको निर्वाचनको वातावरण बनेको बताएका छन् । सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशद्वारा संयुक्त रुपमा यहाँ आयोजत अन्तरक्रिया कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै नेपाल सररकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री खरेलले सरकारको प्रतिबद्धता, निर्वाचन आयोगको तयारी र राजनीतिक पार्टीहरूको तदारुकताका कारण निर्वाचन सुनिश्चित भएको बताए ।

उनले प्रतिनिधिसभाको सदस्यका लागि निर्वाचनको माहोल बनेको उल्लेख गर्दै घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धताका साथ अघि बढेको सरकारलाई सहयोग गर्न सबैसँग अनुरोध गरे । सञ्चारमन्त्री खरेलले जनतालाई सुसूचित गर्ने जिम्मेवारीमा रहेको आमसञ्चार क्षेत्रमाथि प्रश्न उठिरहेको चर्चा गर्र्दै सकारात्मक सोचका साथ अझ निष्पक्ष, सिर्जनशील, विश्वसनीय र तथ्यमा आधारित वस्तुनिष्ट समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चारकर्मीसँग अनुरोध गरे ।

‘मिसावटविहीन’ राजनीति नै हाम्रो बाटो : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कुनै पनि राजनीतिक दलसँग एकता नगर्ने स्पष्ट घोषणा गरेका छन् । उनले श्रम संस्कृति पार्टीले मिसावटविहीन, स्वदेशी विचारमा आधारित र मौलिक राजनीतिको अभ्यास गर्ने दाबी गर्दै सत्तामुखी र प्रतिशोधको राजनीतिबाट टाढा रहने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा साम्पाङले पछिल्लो समय बढिरहेको चुनावी माहोल र विभिन्न राजनीतिक एकताको चर्चाप्रति प्रतिक्रिया जनाएका हुन् । उनले भने, ‘अहिले धेरै अड्कल–अन्दाज भइरहेका छन्–कसले कससँग मिल्छ भनेर । जसलाई जहाँ मिल्न मन छ, मिलून् । तर श्रम संस्कृति पार्टी कसैसँग मिल्दैन ।’

उनका अनुसार श्रम संस्कृति पार्टीको राजनीति देशको माटो, ढुंगा र श्रमसँग जोडिएको छ । ‘हामी ढुंगाको, माटोको राजनीति गर्छौं । स्वदेशी विचार र मौलिकपन हाम्रो आधार हो’, उनले भने, ‘मिसावटको राजनीति हाम्रो चरित्र होइन ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सातबुँदे सम्झौता सार्वजनिक भएको केही घण्टापछि आएको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । साम्पाङले उक्त सन्दर्भ नखुलाए पनि ‘नयाँ भनिएका’ राजनीतिक शक्तिप्रति कडा टिप्पणी गरेका छन् ।

उनले श्रम संस्कृति बाहेकका अन्य सबै नयाँ भनिएका पार्टीहरू पनि पुराना जस्तै काम नलाग्ने दाबी गरे । ‘पुराना त काम नलाग्ने नै हुन् । श्रम संस्कृतिबाहेक अहिलेका नयाँ पनि उस्तै छन्’, साम्पाङले भने, ‘उनीहरूमा देश र जनताप्रतिको माया छैन । छ भने सत्ताको कुर्सीप्रतिको मोह छ र प्रतिशोध साँध्ने सोच छ ।’ साम्पाङले आफ्नो पार्टीलाई प्रतिशोधको राजनीतिसँग जोड्ने प्रयास भइरहेको आरोप पनि लगाए ।

उनका अनुसार विदेशी डलरबाट पालिएका र भ्रष्टाचारमार्फत अकुत सम्पत्ति थुपार्ने समूहहरूले श्रम संस्कृति पार्टी पनि अरू दलसँग मिल्छ भन्ने अफवाह फैलाइरहेका छन् । ‘हामी त्यस्तो राजनीतिमा विश्वास गर्दैनौं’, उनले स्पष्ट पारे । उनले पार्टीका कार्यकर्ता र शुभेच्छुकलाई पनि एकता वा गठबन्धनको विषयमा भ्रममा नपर्न आग्रह गरे । ‘हामी कसैसँग मिल्छौं कि मिल्दैनौं भनेर अलमलिनु पर्दैन’, उनले भने, ‘जो–जो जहाँ मिल्छन्, मिलून् । श्रम संस्कृति पार्टी आफ्नो बाटोमा एक्लै हिँड्छ ।’ साम्पाङको यो अभिव्यक्तिले आगामी दिनमा श्रम संस्कृति पार्टीले आफूलाई वैकल्पिक मात्र होइन, फरक राजनीतिक धारको रूपमा स्थापित गर्न खोजिरहेको संकेत गर्छ । सत्ताको समीकरणभन्दा बाहिर रहेर ‘श्रम, स्वदेशीपन र मौलिकता’लाई केन्द्रमा राख्ने उनको दाबीले नेपाली राजनीतिमा छुट्टै बहस सिर्जना गरिरहेको छ ।

क्यासिनो वाल्डोका चिनियाँ मुख्य लगानीकर्ता पक्राउ

काठमाडौं । ठमेलस्थित छायाँ सेन्टरमा सञ्चालन भइरहेको क्यासिनो वाल्डोमा योजनाबद्ध रूपमा ठगी गरिँदै आएको खुलासा भएपछि त्यसका मुख्य चिनियाँ लगानीकर्ता तथा सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लामो समयदेखि फरार रहेका ७५ वर्षीय CHAn\ MAn\ CHYING लाई परिसरको विशेष टोलीले काठमाडौंमै पक्राउ गरेको हो । उनी क्यासिनो वाल्डोका प्रमुख सञ्चालक भएको प्रहरीको दाबी छ ।

यसअघि प्रहरीले क्यासिनोमा इभेन्ट आयोजना गरेरै तास खेलमार्फत ग्राहकलाई ठगी गरिएको तथ्य सार्वजनिक गरेको थियो । अनुसन्धानका क्रममा तासमा चिप जडान गरिएको, खेलाडीको आँखामा विशेष प्रकारका लेन्स लगाइने र त्यसको सहायताले तासको दुवै पाटा देखिने व्यवस्था मिलाइएको खुलेको थियो । सोही प्रकरणमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डेलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

प्रहरीका अनुसार क्यासिनोका नेपाली सञ्चालक भनिएका विनोद भनिने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भनिने निरजकुमार, हीरा शेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेश भने अझै फरार छन् । चिनियाँ लगानीकर्ताको पक्राउसँगै क्यासिनोको संरचनागत संलग्नता पनि थप प्रस्ट भएको प्रहरीले जनाएको छ । डिसेम्बर ११ देखि १४ तारिखसम्म भारत र नेपालका विभिन्न समूहको सहभागितामा क्यासिनोमा विशेष इभेन्ट आयोजना गरिएको थियो ।

प्रहरी अनुसन्धानअनुसार महाकाय समूहका मुख्य व्यक्ति सुरेश महाजनले नक्कली खेलाडीको व्यवस्थापन गरेका थिए भने चिप जडित तास र विशेष लेन्स भारतबाट खरिद गरी ल्याइएको थियो । ठगीबाट प्राप्त रकमको ९० प्रतिशत इभेन्ट सञ्चालकले र १० प्रतिशत मात्र खेलाडीले पाउने सहमति भएको तथ्य पनि खुलेको छ । प्रहरीले पक्राउ परेकाहरूको साथबाट नेपाली तथा भारतीय मुद्रा, म्याग्नेट जडित तास, सयौँ लेन्स, हवाई टिकटलगायत सामग्री बरामद गरेको छ। क्यासिनो वाल्डोले कानुनी मापदण्ड उल्लंघन गरेको देखिएकाले पर्यटन विभागसँग समन्वय गरी थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ । यो प्रकरणले क्यासिनो व्यवसायभित्रको नियमन, पारदर्शिता र सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।

राष्ट्र बैंकले २० अर्ब निक्षेप खिच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले (आज) आइतबार २० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि १२ दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७५ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ पुष २५ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।

सबै वैकल्पिक शक्तिहरूसँग सम्मानजनक सहकार्य गर्न तयार छौं : कुलमान घिसिङ

काठमाडौं । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र महानगर प्रमुख बालेन शाहबीच सहकार्यको शुरुवात हुँदै गर्दा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक राजनीतिक शक्तिहरूबीचको ध्रुवीकरणमा जोड दिएका छन् । पोखरामा आइतबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै घिसिङले मुलुकको आवश्यकता र जनचाहना पूरा गर्न सबै वैकल्पिक शक्तिहरू एकै ठाउँमा उभिनु पर्ने बताएका छन्। वर्तमान सरकारका मन्त्री समेत रहेका घिसिङले पार्टी एकीकरण सम्भव नभए पनि ‘कार्यगत एकता’ गरेर अघि बढ्नुको विकल्प नरहेको जिकिर गरे ।

‘सही नेतृत्व र वैकल्पिक विचार बोकेका शक्तिहरू अब छरिएर होइन, एकताबद्ध भएर जानुपर्छ,’ घिसिङले भने, ‘सकेसम्म पार्टी एकीकरण गरौं, त्यो नसके कम्तीमा कार्यगत एकता गरेर भए पनि अगाडि बढौं । म सबै नयाँ र मूलधारका परिवर्तनकारी शक्तिलाई एक ठाउँमा आउन आह्वान गर्दछु ।’ जनताले पुराना शैलीको विकल्प खोजिरहेको उल्लेख गर्दै उनले भने, ‘आजको जनमत वैकल्पिक शक्तिहरू एक होउन् र देशलाई नयाँ नेतृत्व प्रदान गरुन् भन्ने पक्षमा छ । यो भावनालाई हामीले समयमै बुझ्न जरुरी छ ।’

रास्वपा सभापति लामिछाने र मेयर शाहबीच सात बुँदे सम्झौता सार्वजनिक भएकै दिन घिसिङको यो अभिव्यक्ति आउनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । केही समयअघि बालेनसँग सहकार्यका लागि घिसिङले पनि छलफल अघि बढाएका थिए । तर, पछिल्लो समीकरणमा रवि र बालेन एक हुँदा कुलमान भने बाहिरै रहेका छन्। यद्यपि, घिसिङले आफूहरू एक्लिएको महसुस नगरेको संकेत गर्दै सम्मानजनक सहकार्यका लागि ढोका खुला रहेको प्रष्ट पारे ।

एकताको अपिल गर्दैगर्दा घिसिङले सहकार्यको शर्त पनि अघि सारेका छन् । उनले आफ्नो पार्टीको आत्मसम्मान र स्वाभिमानलाई दाउमा राखेर भने कुनै सम्झौता नहुने स्पष्ट पारे । ‘हामी सबैसँग सहकार्य गर्न तयार छौं, तर त्यो सम्मानजनक हुनुपर्छ । हाम्रो स्वाभिमान नमेटिने गरी हुने सहकार्यले मात्र नतिजा दिन्छ,’ उनले कार्यकर्ताहरूलाई आश्वस्त पार्दै भने, ‘भित्रभित्रै धेरै गृहकार्य भइरहेको छ, केही दिनमै यसको ठोस नतिजा तपाईंहरूले देख्नु हुनेछ ।’

 

महेश बस्नेतको टिप्पणी : अब बालेनप्रतिको आकर्षण घट्छ

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पछिल्लो समय देखिएको राजनीतिक उतारचढावप्रति कडा टिप्पणी गर्दै संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सम्भावित सहकार्यलाई लिएर गम्भीर प्रश्न उठाएका छन् ।

बस्नेतका अनुसार नेपाली राजनीतिमा नयाँ अनुहारलाई बारम्बार ‘आशा’ का रूपमा प्रस्तुत गर्ने तर केही समयमै ती पात्रहरू ‘बासी’ बन्ने प्रवृत्ति दोहोरिँदै आएको छ । उनले गगन थापा, रवि लामिछाने हुँदै बालेन शाहसम्मको उदाहरण दिँदै लोकप्रियताको लहर दीर्घकालीन परिवर्तनको आधार बन्न नसकेको दाबी गरेका छन् । उनले लेखेका छन्, ‘नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैँ आशाको रूपमा बेचिन्छ । गगन आए, जबर्जस्त बासी बनाइए । काण्डै–काण्डका नाइके रवि आए, उनी पनि बासी भए । लोकप्रियताको आडमा बालेन आए–तीन वर्षमा नगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन थालेको छ ।’

बस्नेतको भनाइमा बालेन शाहको लोकप्रियता उनको स्वतन्त्र छविसँग जोडिएको थियो । तर विवादित छवि भएका रवि लामिछाने नेतृत्वको दलसँग नजिकिँदै गएपछि त्यो आकर्षण तीव्र गतिमा घट्ने संकेत देखिन थालेको उनले बताएका छन् । ‘बालेनको लोकप्रियता स्वतन्त्र छविकै कारण थियो । रवि जस्तो विवादित पात्रको नेतृत्व रहेको दलसँग जोडिना साथ त्यो आकर्षण घट्नु स्वाभाविक हो’, उनले उल्लेख गरेका छन् ।

रास्वपाको राजनीतिप्रति पनि बस्नेतले तीखो टिप्पणी गरेका छन् । उनका अनुसार पुराना दललाई गाली गर्ने र सत्तामा पुग्ने बाहेक स्पष्ट नीति, दिशा र दीर्घकालीन भिजन नहुँदा जनतासँगको दूरी झन् बढ्दै जाने निश्चित छ । ‘काम गर्ने कालू, मकै खाने भालु’ को उखान प्रयोग गर्दै उनले व्यक्तिवादी स्वार्थमा आधारित राजनीति टिकाउ नहुने जिकिर गरेका छन् । बस्नेतले भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शन योजनाबद्ध रूपमा मुठभेडमा परिणत गराइएको र त्यसक्रममा केही युवाले ज्यान गुमाउनुपरेको उल्लेख गरेका छन् । साथै, भदौ २४ गते राज्यका आधारस्तम्भ—सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत—माथि आक्रमण गरिएको भन्दै त्यसलाई लोकतन्त्रविरुद्धको गम्भीर चुनौतीका रूपमा चित्रण गरेका छन् ।

उनको दाबी छ कि यी घटनाहरू नेपाललाई अस्थिर बनाउने भूराजनीतिक षड्यन्त्रको प्रारम्भिक चरण हुन सक्छन् । ‘यसमा बालेन र रविको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका देखिनु, साथै माओवादी र राजावादी धाराहरूको समर्थन देखिनु गम्भीर चिन्ताको विषय हो’, उनले लेखेका छन् । आगामी निर्वाचनलाई लक्षित गर्दै बस्नेतले मुख्य प्रश्न उठाएका छन्–राज्यका संरचना जलाउने अराजक राजनीति रोज्ने कि ती संरचना निर्माण गर्ने र भत्काउनेमाथि कारबाही गर्ने जिम्मेवार राजनीतिलाई साथ दिने ? उनका अनुसार अराजक धारको नेतृत्व बालेन–रविहरूले गरिरहेको देखिन्छ भने संरचना जोगाउने जिम्मेवारी पुराना दलकै काँधमा आएको छ । यद्यपि, उनले समस्या पुराना दलको अस्तित्व नभई तिनभित्रका विकृतिहरू भएको स्पष्ट पारेका छन् । ‘नयाँ दल खोल्नु समाधान होइन, पुराना दललाई परिमार्जन गर्दै राजनीतिक सुधार गर्नु नै आजको आवश्यकता हो’, बस्नेतको निष्कर्ष छ । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै जिम्मेवार शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन् । नत्र ‘नयाँ बोत्तलमा पुरानै रक्सी’ पिइरहँदा नेपाली जनता फेरि–फेरि उही भ्रमको सिकार भइरहने चेतावनी उनले दिएका छन् ।

 

नेपाल र चीनबीचको सम्बन्ध जनस्तरमा विकास हुनुपर्छ : उपसभामुख राना

काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले नेपाल र चीनबीचको सम्बन्ध आपसी सम्मान र समझदारीमा आधारित रहेको बताउँदै यसलाई अझ सुदृढ बनाउनु पर्नेमा जोड दिएकी छन् । नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष प्रवेशको अवसरमा वर्षभर आयोजित विविध कार्यक्रमहरूको समापनका सन्दर्भमा चिनियाँ दूतावासद्वारा आयोजित विशेष स्वागत समारोहमा उनले यस्तो धारणा राखेकी हुन् ।

समारोहलाई सम्बोधन गर्दै उपसभामुख रानाले दुई देशबीचको सम्बन्ध सरकारीस्तरमा मात्र सीमित हुनु नहुने भन्दै जनस्तरमा पनि विस्तार हुनुपर्ने बताइन् । उनले व्यापार, लगानी र भौतिक पूर्वाधारका क्षेत्रमा दुवै देशबीच सघन सहकार्य हुनुपर्ने बताउँदै नेपालको विकास प्रयासमा चीनले गरेको सहयोगको सराहना गरिन् । चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्वका रूपमा लिने बताउँदै उनले शान्तिपूर्ण सह–अस्तित्वका पाँच सिद्धान्तले यो मित्रतालाई बलियो आधार प्रदान गरेको उल्लेख गरिन् । प्राकृतिक सीमाका रूपमा रहेका हिमालयहरू कहिल्यै पनि सम्बन्धमा वाधक नबनेको बरु निकटता, साझा भाग्य र शान्तिपूर्ण सहअस्तित्वको प्रतिक बनेको उनको भनाइ थियो ।

सोही अवसरमा नवनियुक्त चिनियाँ कार्यवाहक राजदूत चौ पानले नेपालको विकास साझेदारका रूपमा चीनले सक्दो सहयोग गर्दै आएको बताए । उनले आर्थिक, वाणिज्य, कृषि, गरिबी निवारण, पर्यटन तथा युवा विकासलगायतका क्षेत्रलाई केन्द्रमा राखेर चीनले सहायता परिचालन गरिरहेको जानकारी दिए । कार्यवाहक राजदूत चौले हालै चिनियाँ कम्युनिष्ट पार्टीले अनुमोदन गरेको १५ औँ पञ्चवर्षीय योजनामा नेपाललगायत छिमेकी मुलुकहरूको सामाजिक एवं आर्थिक विकासका कार्यक्रमहरू समावेश गरिएको जानकारी दिँदै दुवै देशका साझा चासो र लाभका लागि पारस्परिक साझेदारी अपरिहार्य रहेको बताए ।

वि.सं. २०१२ साउन १९ गते (सन् १९५५ अगष्ट ३) औपचारिक रूपमा कुटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै यो वर्षभर विभिन्न कार्यक्रमहरू आयोजना गरिएका थिए । वर्षभरका कार्यक्रमहरूको समापनका रूपमा आयोजित यो विशेष समारोहमा नेपाल चाइना मिडिया फोरमद्वारा प्रकाशित पुस्तक, सञ्चारकर्मीका लागि चिनियाँ भाषा तालिम, चौथो सञ्चार सम्मेलन तथा विभिन्न सांस्कृतिक प्रदर्शनीहरूको चर्चा गरिएको थियो । समारोहमा चिनियाँ संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

नयाँ जिम्मेवारी सम्हाल्न नेपाल आइपुगेका कार्यवाहक राजदूत चौ पानको निमन्त्रणामा आयोजित उक्त समारोहमा उपसभामुख, मन्त्रीगण, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, सरकारका विशिष्ट श्रेणीका अधिकारी, सुरक्षा निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रमा कार्यरत चिनियाँ नागरिकहरूको उपस्थिति थियो । नेपाल सङ्घीयता, समावेशी विकास र दिगो विकासको बाटोमा अघि बढिरहेको सन्दर्भमा चीनलाई एक मूल्यवान साझेदारका रूपमा लिइएको र सम्बन्ध सधैँ समस्यारहित र सदाबहार रहेको कार्यक्रममा सहभागी वक्ताहरूले बताएका थिए ।

रवि–बालेन एकतापछि योगेश भट्टराई : बाह्य चुनौति बढ्दैछ, अब लुकेर हुनेवाला छैन

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीचको एकताले चुनौति बढेको टिप्पणी गरेका छन् । रवि र बालेनबीच एकताको सहमति भएपछि सामाजिक सञ्जालमा उनले चुनौति बढेको टिप्पणी गरेका हुन् ।

‘बाह्य चुनौति बढिरहेको छ । जसको सामना गर्नै पर्छ, भागेर लुकेर हुनेवाला छैन,’ उनले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘आन्तरिक एकता बलियो बनाऔं । राष्ट्र र जनताका एजेण्डा बोकौं । बिगतका कमजोरीप्रति आत्मालोचित होऔं । विनम्र बनौं । कार्यशैली सुधार गरौं ।’

भट्टराई एमाले महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली इतरको खेमाबाट उपमहासचिवमा विजयी भएका नेता हुन् । जेनजी आन्दोलनपछि उनले एमालेको अबको नेतृत्व केपी ओलीबाट हुन नसक्ने अभिव्यक्ति दिँदै आएका थिए । ओलीले आफ्ना कमी कमजोरीप्रति क्षमायाचना नगरेको भन्दै उनले ओलीको तीव्र आलोचना गर्दै आएका छन् ।

रवि–बालेन सम्झौतापछि कुलमानकाे पार्टीले भन्यो–जेनजी आन्दोलनको भावना समेटिएन

काठमाडौं । वैकल्पिक राजनीतिक धार निर्माणको बहुप्रतीक्षित प्रयास अन्ततः त्रिपक्षीय एकतामा रूपान्तरण हुन सकेन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सात बुँदे सहमति भए पनि उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जामन्त्री कुलमान घिसिङ यो प्रक्रियाबाट अलग भएका छन् । उज्यालो नेपाल पार्टीले उक्त सहमतिले ‘जेनजी आन्दोलनको मूल भावना’ नसमेटेको भन्दै असहमति जनाएको छ ।

आइतबार बिहान रवि र बालेनले सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै दुई पक्षीय एकताको औपचारिक घोषणा गरे । सहमतिअनुसार एकतापछिको पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने, पार्टी सभापति रवि लामिछाने रहने र आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह बन्ने समझदारी गरिएको छ । तर यही संरचनाले उज्यालो नेपाल पार्टीको पहिचान र भूमिकालाई ओझेलमा पार्ने निष्कर्षसहित कुलमान पछाडि हटेका हुन् ।

उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा वार्तामा संलग्न जितराम लामाले सहमतिप्रति असन्तुष्टि जनाउँदै भने, ‘यो सम्झौता अपेक्षाकृत थिएन । त्यहाँ पदको भागबण्डा बाहेक भोलिको रोडम्याप, नीतिगत स्पष्टता र देशका समस्या समाधानका उपाय देखिँदैनन् । जेनजी आन्दोलनको भावना सम्पूर्ण रूपमा समेटिएको छैन ।’ उनका अनुसार पार्टीले अब आफ्नै ढंगले संगठन विस्तार गर्दै कुलमान घिसिङलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर जनतामा जाने निर्णय गरेको छ ।

एकताका लागि शनिबार राति बालुवाटारस्थित एक निजी निवासमा रवि, बालेन र कुलमानबीच लामो छलफल भएको थियो । सुरुमा बालेन र कुलमानबीच भइरहेको संवादमा रवि जोडिएपछि त्रिपक्षीय वार्ता अघि बढेको बताइन्छ । तर पार्टीको नाम, चुनाव चिह्न, नेतृत्व संरचना र शक्ति बाँडफाँडका विषयमा सहमति नजुट्दा कुरा टुंगिन सकेन । छलफलमा सबै संरचना र पहिचान रास्वपाकै रहने र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने प्रस्ताव आएको थियो । यसले उज्यालो नेपाल पार्टीको अस्तित्व नै विलय हुने ठहरसहित कुलमानले अस्वीकार गरेका थिए ।

स्रोतहरूका अनुसार कुलमानले पार्टीको नाम र चुनाव चिह्न उज्यालो नेपाल पार्टीकै स्वीकार गर्नुपर्ने प्रस्ताव राखेका थिए । अध्यक्ष वा प्रधानमन्त्री दुवै पद आवश्यक नरहेको भन्दै संरचनागत सम्मान र दीर्घकालीन राजनीतिक दिशामा जोड दिएका थिए । तर रवि र बालेन यसमा सहमत नभएपछि सहकार्य टुटेको हो ।

यसअघि पुस ४ गते जेलबाट रिहा भए लगत्तै रवि लामिछानेले २१ फागुनको निर्वाचनअघि नै वैकल्पिक शक्ति निर्माण गर्ने घोषणा गर्दै बालेनसँग एकताका लागि पहल गरेका थिए । पुस ७ गते कमलपोखरीमा भएको पहिलो भेटमा रविले बालेनलाई रास्वपामा साधारण सदस्यका रूपमा प्रवेश गर्न प्रस्ताव गरेका थिए । चुनावपछि शक्ति बाँडफाँड मिलाउने आश्वासन दिइए पनि बालेनले सुरुदेखि नै स्पष्ट संरचना र भूमिकाको माग गरेका थिए ।

त्यसपछि बालेनले आफ्नै ‘देश विकास पार्टी’ अगाडि बढाउने तयारी थालेका थिए । उनले राजनीतिक–सामाजिक क्षेत्र, निजी क्षेत्र र युवा पुस्ताका प्रतिनिधिसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै वैकल्पिक शक्ति निर्माणको संकेत दिएका थिए । बालेन अलग बाटोमा अघि बढेको बुझाइपछि रविले पुनः संवाद थाले र पुस १० गतेको छलफलमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन तयार भएको बताइन्छ । त्यसपछि दुवै पक्षका प्रतिनिधि रहेको कार्यदलले एकता सम्झौताको मस्यौदा तयार गर्न थालेको थियो ।

तर उज्यालो नेपाल पार्टीका प्रतिनिधिलाई कार्यदलमा समेटिन नसक्नु, रविले जेलबाट छुटेपछि कुलमानसँग प्रत्यक्ष संवाद नगर्नु र शक्ति बाँडफाँडमा लचकता नदेखिनुका कारण कुलमान असन्तुष्ट बने । शनिबार उज्यालो नेपाल पार्टीले एकताको नाममा आफ्नो अस्तित्व गुमाएर विलय नहुने औपचारिक निर्णय समेत गरिसकेको थियो ।

यद्यपि अन्तिम समयसम्म बालेनले कुलमानलाई मनाउने प्रयास जारी राखेका थिए । शनिबार बिहान र साँझ गरी दुई पटक भेटवार्ता भए पनि निर्णायक सहमति जुट्न सकेन । परिणामतः चर्चित त्रिपक्षीय वैकल्पिक राजनीतिक धार निर्माणको प्रयास दुई पक्षीय सहमतिमा सीमित रह्यो । अब रवि–बालेन एउटै प्लेटफर्मबाट अघि बढ्ने भएका छन् भने कुलमान घिसिङ आफ्नै दलसहित अलग राजनीतिक यात्रामा निस्कने संकेत स्पष्ट देखिएको छ ।

 

बालेन–रवि सहमतिबारे पोखरेलको टिप्पणी–षड्यन्त्रको दोस्रो चरणको तयारी शुरु

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सात बुँदे सहमति भएको सन्दर्भमा भदौ २३ र २४ गते भएका घटनाका योजनाकार र मतियार क्रमशः सार्वजनिक हुन लागेको दाबी गरेका छन् । उनले ती घटनालाई भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेन जस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरणको रूपमा व्याख्या गर्दै अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी सुरु भएको आशंका व्यक्त गरेका छन् ।

सात बुँदे सहमति भएकै दिन बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले भदौ २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरिएको र त्यस क्रममा केही युवाको ज्यान गएको आरोप लगाएका छन् । उनका अनुसार भदौ २४ गते त्यसैको आडमा मुलुकको अस्मिता र सामथ्र्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधार स्तम्भमाथि आक्रमण गर्ने प्रयास भयो । यी सबै गतिविधि कुनै आकस्मिक घटना नभई संगठित विध्वंसको हिस्सा भएको उनको निष्कर्ष छ ।

पोखरेलले उक्त घटनाहरूको पृष्ठभूमिमा रहेको शक्तिको पहिचान अब बाहिरिँदै गएको उल्लेख गर्दै विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदै जाने दाबी गरेका छन् । उनले नेपाललाई भूराजनीतिक द्वन्द्वमा तान्ने प्रयास भइरहेको भन्दै त्यसप्रति गम्भीर सतर्कता अपनाउनुपर्ने बताए । नयाँ राजनीतिक शक्तिहरू एकीकृत हुने प्रक्रियामा रहेको बेला पोखरेलले संविधान र लोकतन्त्रका पक्षधर पुराना शक्तिहरूबीच समेत एकताको आवश्यकता औंल्याएका छन् । उनले देशभक्त शक्तिहरू सचेत र एकजुट हुनुपर्नेमा जोड दिँदै नेपाल राष्ट्रलाई बाह्य भूराजनीतिक खेलको गोटी बन्नबाट जोगाउन सबै पक्षले जिम्मेवार र सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखेका छन् ।

 

रवि–बालेन सहकार्यबारे सरकारका प्रवक्ता खरेल : समृद्ध नेपालको गन्तव्य तय हुँदैछ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भएको सात बुँदे सहमतिले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ । यसै सन्दर्भमा अन्तरिम चुनावी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले यसलाई सकारात्मक र नूतन अध्यायको संज्ञा दिएका छन् ।

‘जेनजी’ आन्दोलनको जगमा गठित सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यो सहकार्यलाई ‘नयाँ दिनको नयाँ सुरुवात’ भनेर टिप्पणी गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘नयाँ दिन, नयाँ सुरुवात । सुन्दर र समृद्ध नेपालको सपना ! गन्तव्य तय हुँदैछ…।’

 

रास्वपामा बालेनलाई सभापति रवि पछिको वरीयता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा काठमाडौं महानगरपालिका मेयर बालेन शाह रवि लामिछाने पछिको वरियतामा रहने भएका छन् । आज (आइतबार) बिहान रास्वपा सभापति रवि लामिछाने र बालेन शाहबीच ७ बुँदे सहमतिमा हस्ताक्षर भएको छ । उक्त सहमति अनुसार बालेन शाहलाई आगामी निर्वाचनमा रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार र निर्वाचनपछि संसदीय दलको नेता बनाउने छ ।

तर सहमतिमा बालेन शाह रास्वपामा कुन जिम्मेवारीमा रहने भन्ने विषयमा केही उल्लेख छैन । बालेन निकट केपी खनालका अनुसार बालेनलाई रास्वपामा दोस्रो वरीयता दिने सहमति छ । ‘भावी प्रधानमन्त्रीको उम्मेद्वार र संसदीय दलको नेता हुने भएकाले उहाँ पार्टीमा दोस्रो वरीयतामा रहनु हुन्छ,’ बालेनका निकट केपी खनालले सुनाए, ‘मेयर बालेनले कुनै पदको कुरा वार्तामा गर्नु भएको छैन । उहाँले देशलाई निकास दिनुपर्छ भन्ने हिसाबले कुरा गर्नुभएको थियो । तर भावी प्रधानमन्त्रीको हिसाबले उहाँ सभापति रवि लामिछानेपछिको वरीयतामा रहनुहुन्छ ।’

सहमतिमा केन्द्रीय समितिमा बालेन पक्षका को को र कति जना सहभागी हुने भन्ने विषय उल्लेख गरिएको छैन । तर युवा अभियन्ता र अनुभवी विज्ञलाई समायोजन गर्ने भनिएको छ । ‘एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,’ सहमतिमा उल्लेख छ ।

रवि–बालेन सहमतिपछि हर्क साम्पाङको टिप्पणी : देश लिलाम गर्ने खेल सुरु भयो (भिडियो)

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच देखिएको पछिल्लो राजनीतिक समझदारीप्रति तीव्र असन्तोष व्यक्त गरेका छन् । आइतबार बिहान सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै साम्पाङले उक्त सहकार्यलाई सत्ता–केन्द्रित र जनभावनाविपरीतको राजनीतिक गठजोडका रूपमा व्याख्या गरेका छन् ।

साम्पाङले भिडियो सन्देशमा रवि लामिछाने र बालेन शाहको नाम प्रत्यक्ष रूपमा नलिइए पनि संकेतात्मक भाषामा उनीहरूको राजनीतिक शैली, उद्देश्य र भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् । उनले विशेष गरी काठमाडौं महानगरपालिकाका मेयरतर्फ इंगित गर्दै नयाँ पुस्ता अर्थात् ‘जेन–जी’ को भावना प्रयोग गरेर राजनीतिक लाभ लिन खोजिएको आरोप लगाए ।

उनका अनुसार युवाहरूलाई आन्दोलन र सडक संघर्षतर्फ धकेल्ने तर निर्णायक घडीमा नेतृत्वकर्ताहरू स्वयं अगाडि नआउने प्रवृत्ति खतरनाक छ । ‘युवाहरूलाई उक्साएर भिडन्ततर्फ पठाइन्छ, तर आफू भने सुरक्षित ठाउँमा बसेर तमासा हेरिन्छ’, साम्पाङले आक्रोशपूर्ण शैलीमा भनेका छन् । उनले यस्तो प्रवृत्तिले देशलाई थप अस्थिरतामा धकेल्ने चेतावनी पनि दिए ।

देश कठिन परिस्थितिमा परेका बेला नेतृत्वले जिम्मेवारीबाट पन्छिएर मौन बस्ने र अहिले चुनाव नजिकिँदै जाँदा नैतिकताको कुरा गर्दै जनतासामु पुग्न खोज्नु गलत भएको उनको भनाइ छ । सिंहदरबार जल्दा, देश संकटमा पर्दा टुलुटुलु हेरेर बस्नेहरूले कुन आधारमा जनताको विश्वास मागिरहेका छन् भन्ने प्रश्न उनले उठाए ।

रवि–बालेनबीचको सहकार्यलाई साम्पाङले विदेशी शक्तिको इसारामा भएको ‘सेटिङ’ भन्दै आलोचना गरेका छन् । उनका अनुसार यो गठबन्धन राष्ट्र निर्माणभन्दा पनि सत्ता र कुर्सी प्राप्तिको उद्देश्यले बनेको देखिन्छ । ‘देशलाई लिलाम गर्ने खेल सुरु भएको छ’, साम्पाङले भने, ‘विदेशी प्रभावलाई हामीले पहिल्यै महसुस गरिसकेका छौं, अब त्यसलाई संस्थागत गर्ने प्रयास भइरहेको छ ।’

उनले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै सहकारी ठगी प्रकरण र एमसीसी सम्झौताका पक्षधरहरूसँगको नजिकियताप्रति पनि प्रश्न उठाएका छन् । सहकारी पीडितका मुद्दा र विवादास्पद सम्झौताका समर्थकहरूसँग मिलेर बनेको कुनै पनि सरकार जनताको वास्तविक समस्यामा केन्द्रित हुन नसक्ने साम्पाङको ठम्याइ छ । समग्रमा, हर्क साम्पाङको अभिव्यक्तिले नयाँ राजनीतिक शक्तिहरूबीच देखिएको सहकार्य र त्यसको उद्देश्यबारे सार्वजनिक बहसलाई थप चर्काउने संकेत गरेको छ । उनले आफू राष्ट्र, श्रम र स्वाभिमानको पक्षमा अडिग रहने र कुनै पनि किसिमको सत्ताकेन्द्रित सम्झौतासँग सम्झौता नगर्ने सन्देश दिएका छन् ।

 

मेयरको दौडमा रविका दाजु हरिशरण, स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं । मध्यराति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भएको सहमतिलाई ‘सकारात्मक संकेत’ भन्दै रविका दाजु तथा रेडियोकर्मी हरिशरण लामिछानेले काठमाडौँको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

हरिशरण लामिछानेले सार्वजनिक वक्तव्यमार्फत दुई भाइबीच भएको राजनीतिक समझदारीप्रति सम्मान र खुशी व्यक्त गर्दै आफू काठमाडौँ महानगरको भावी मेयर पदको दौडमा उत्रिने प्रबल सम्भावना रहेको बताएका छन् । ‘दुई भाइको सम्झौताले देशको राजनीतिमा नयाँ सन्देश दिएको छ’, उनले उल्लेख गर्दै आफ्नो उम्मेदवारी स्वतन्त्र हुने स्पष्ट पारेका छन् ।

रेडियो नेपालबाट सेवानिवृत्त लामिछाने प्रसारण क्षेत्रका चर्चित र विवादास्पद पात्रका रूपमा चिनिन्छन् । विशेषगरी भदौमा भएको जेन्जी आन्दोलनका क्रममा उनले रेडियो नेपालको स्टुडियो प्रवेश गरी १५ मिनेटभन्दा बढी समय राष्ट्रिय प्रसारण नियन्त्रणमा लिएको घटनाले उनलाई व्यापक चर्चामा ल्याएको थियो ।

उनको उम्मेदवारी घोषणाले काठमाडौँको मेयर चुनाव थप रोचक बन्ने संकेत देखिएको छ । स्वतन्त्र उम्मेदवारको रूपमा लामिछानेको प्रवेशलाई केहीले वैकल्पिक राजनीतिक आवाजको रूपमा हेरेका छन् भने केहीले यसलाई प्रतीकात्मक र व्यंग्यात्मक राजनीतिक कदमका रूपमा टिप्पणी गरेका छन् । अब काठमाडौँको मेयर चुनावमा ‘लामिछाने’ थरको अर्को दाबीले मतदातामाझ कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।

 

हस्ताक्षरपछि रविले भने–सहमति नेताले खोजे जस्तो होइन, देशलाई चाहिए जस्तो हुनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच आगामी निर्वाचनलाई लक्षित गर्दै राजनीतिक एकताको औपचारिक सहमति भएको छ । आइतबार बिहान दुबै नेताले सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै संयुक्त रूपमा अघि बढ्ने निर्णय गरेका हुन् ।

सहमति अनुसार एकता पछि कायम रहने दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ । दलको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो घेराभित्र निलो घण्टी रहनेछ भने चुनाव चिह्न पनि ‘घण्टी’ नै हुनेछ । पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने सहमतिपत्रमा उल्लेख छ ।

राजनीतिक संरचनाको विषयमा पनि स्पष्ट सहमति गरिएको छ । रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने नै रहनेछन् भने आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ । यसले आगामी निर्वाचनमा नयाँ राजनीतिक समीकरणको संकेत दिएको छ।

सहमति पछि प्रतिक्रिया दिँदै रवि लामिछानेले सामाजिक सञ्जालमार्फत आफूहरूको कदम व्यक्ति केन्द्रित नभएको स्पष्ट पारेका छन् । उनले लेखेका छन्, ‘सहमति भनेको नेताले खोजे जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ ।’ उनको भनाइले यो एकता व्यक्तिगत महत्वाकांक्षाभन्दा देशको आवश्यकतालाई केन्द्रमा राखेर गरिएको दाबी गर्छ ।

रवि–बालेनबीचको यो सहमतिलाई नयाँ पुस्ताको राजनीति र वैकल्पिक शक्तिको प्रयासका रूपमा हेरिएको छ । विशेष गरी काठमाडौं महानगरका मेयरका रूपमा बालेनको सक्रियता र रास्वपाको उदयसँगै बनेको यो एकताले राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।

रवि–बालेन मिल्दा किन बाहिरिए कुलमान ?

काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणको प्रयास अन्ततः त्रिपक्षीय एकतामा पुग्न सकेन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भए पनि उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जामन्त्री कुलमान घिसिङ भने यो प्रक्रियाबाट अलग भएका छन् ।

रातभर चलेको छलफलपछि आइतबार बिहान रवि र बालेनले मात्रै सात बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै एकताको औपचारिक घोषणा गरेका छन् । सहमतिअनुसार एकतापछिको पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने, पार्टी सभापति रवि लामिछाने रहने र आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह बन्ने समझदारी भएको छ । यही सहमतिले रवि–बालेन–कुलमानलाई एउटै राजनीतिक शक्तिमा जोड्ने प्रयास असफल बनाएको हो ।

एकताका लागि शनिबार राति बालुवाटारस्थित एक निजी निवासमा रवि, बालेन र कुलमानबीच लामो छलफल भएको थियो । सुरुमा बालेन र कुलमानबीच वार्ता भइरहेको ठाउँमा रवि प्रवेश गरेपछि त्रिपक्षीय संवाद सुरु भएको स्रोतहरू बताउँछन् । तर पार्टीको नाम, चुनाव चिह्न, नेतृत्व संरचना र शक्ति बाँडफाँडको विषयमा सहमति नजुट्दा कुलमान अन्ततः पछि हटेका हुन् ।

छलफलका क्रममा सबै संरचना र पहिचान रास्वपाकै रहने, बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने प्रस्ताव आएको थियो । तर यसले उज्यालो नेपाल पार्टीको अस्तित्व समाप्त हुने निष्कर्ष निकाल्दै कुलमान यसमा सहमत नभएको बताइन्छ । स्रोतका अनुसार कुलमानले पार्टीको नाम र चुनाव चिह्न आफ्नो दलको स्वीकार गर्नुपर्ने प्रस्ताव राखेका थिए भने अध्यक्ष वा प्रधानमन्त्री दुवै पद आफूलाई आवश्यक नरहेको बताएका थिए । तर यो प्रस्तावमा रवि र बालेन सहमत नभएपछि सहकार्य टुटेको हो ।

यसअघि पुस ४ गते जेलबाट रिहा भए लगत्तै रवि लामिछानेले २१ फागुनको निर्वाचनअघि नै वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै बालेनसँग एकताका लागि पहल गरेका थिए । पुस ७ गते कमलपोखरीस्थित रास्वपाका सांसद असीम शाहको निवासमा करिब छ घण्टा चलेको पहिलो भेटमा रविले बालेनलाई रास्वपामा साधारण सदस्यका रूपमा प्रवेश गर्न प्रस्ताव गरेका थिए । चुनावपछि सबै कुरा मिलाउने आश्वासन दिइए पनि बालेनले शक्ति बाँडफाँड स्पष्ट हुनुपर्ने अडान राखेका थिए ।

त्यसपछि पुस ८ गतेदेखि बालेनले आफ्नै ‘देश विकास पार्टी’ अगाडि बढाउने तयारी थालेका थिए । राजनीतिक–सामाजिक क्षेत्र, निजी क्षेत्र र युवा पुस्ताका प्रतिनिधिसँग उनले छुट्टाछुट्टै भेटवार्ता समेत गरेका थिए । बालेन छुट्टै शक्ति निर्माणतर्फ अघि बढेको संकेत पाएपछि रविले पुनः संवाद थालेका थिए। पुस १० गते भएको अर्को लामो छलफलमा रवि बालेनलाई आफूपछिको वरीयतामा राख्दै प्रधानमन्त्रीको उम्मेदवार बनाउन तयार भएका थिए । त्यसपछि दुवै पक्षका दुई–दुई सदस्य रहेको कार्यदलले एकता सम्झौताको मस्यौदा तयार गर्न थालेको थियो ।

तर कुलमानसँग भने रविले जेलबाट छुटेपछि प्रत्यक्ष छलफल नगरेको, एकताका लागि बनाइएको कार्यदलमा उज्यालो नेपाल पार्टीका प्रतिनिधि नराखिएको र शक्ति बाँडफाँडमा लचिलो नदेखिएको भन्दै कुलमान असन्तुष्ट बनेका थिए । शनिबार उज्यालो नेपाल पार्टीले एकताको नाममा आफ्नो अस्तित्व गुमाएर बिलय नहुने औपचारिक निर्णय पनि गरेको थियो ।

यद्यपि कुलमानलाई मनाउने प्रयास बालेनले अन्तिम समयसम्म जारी राखेका थिए । शनिबार बिहान र साँझ गरी दुई पटक भेटवार्ता भए पनि निर्णायक सहमति जुट्न सकेन । अन्ततः त्रिपक्षीय छलफल भएको पहिलो अवसरमै शक्ति बाँडफाँडको विषय नै बाधक बन्यो र कुलमान यो एकता प्रक्रियाबाट बाहिरिए । यससँगै वैकल्पिक राजनीतिक धार निर्माणको चर्चित प्रयास दुई पक्षीय सहमतिमा सीमित भएको छ भने कुलमान घिसिङ आफ्नै दलसहित अलग बाटोमा अघि बढ्ने संकेत स्पष्ट भएको छ ।

दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै, सभापति रवि, बालेन प्रधानमन्त्रीको उम्मेदवार

काठमाडौं । नेपाली राजनीतिमा नयाँ तरंग सिर्जना गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच बृहत् एकताको सहमति भएको छ । लामो समयको छलफल र रातभर चलेको वार्तापछि दुवै पक्ष ७ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै एउटै राजनीतिक धारमा उभिन सहमत भएका हुन् ।

सहमतिअनुसार एकतापछि पनि दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ । पार्टीको झण्डा साबिककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टीको आकृतिसहित कायम रहनेछ भने चुनाव चिन्ह ‘घण्टी’ नै हुनेछ । केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने व्यवस्था गरिएको छ । पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहनेछन् भने आगामी प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सारिनेछ।

सहमति पत्रमा नवयुवाहरूले भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध उठाएको आन्दोलनको भावना आत्मसात् गर्ने उल्लेख छ । आन्दोलनका क्रममा घाइते भएका तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता पनि दुवै पक्षले व्यक्त गरेका छन् । साथै नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन हासिल गर्दै आगामी दस वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्यसहितको मार्गचित्र इमानदारीपूर्वक कार्यान्वयन गर्ने सहमति भएको छ ।

एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप सुदृढ र फराकिलो बनाइने उल्लेख गरिएको छ । यस क्रममा युवा अभियन्ता, प्राविधिक विज्ञ तथा अनुभवी व्यक्तित्वहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानेर जिम्मेवारी दिइनेछ । लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा केन्द्रित भई अन्य परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा गोलबद्ध हुन आह्वान गर्ने निर्णय गरिएको छ ।
सहमति कार्यान्वयनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी आवश्यक दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गरिने छ । नेतृत्व, सिद्धान्त र चुनाव चिन्ह ‘घण्टी’मा एकीकृत हुँदै वैकल्पिक राजनीतिलाई संस्थागत गर्ने लक्ष्य दुवै पक्षले अघि सारेका छन् ।

हस्ताक्षर कार्यक्रममा रास्वपाका तर्फबाट स्वर्णिम वाग्ले, डिपी अर्याल, शिशिर खनाल र असिम शाह सहभागी थिए भने बालेन पक्षबाट कुमार बेन, केपी खनाल, निश्चल बस्नेत, भुपदेव शाह र सुदिप ढकालको उपस्थिति रहेको थियो । यो एकताले आगामी निर्वाचन र समग्र नेपाली राजनीतिमा नयाँ बहस र सम्भावनाको ढोका खोलेको विश्लेषण हुन थालेको छ ।
यी हुन् सात बुँदे सहमति