`

हिमाको ८० प्रतिशत घरमा धारा जडान

जुम्ला । करिब ८० प्रतिशत घरधुरीमा धारा जडान गर्न जिल्लाको हिमा गाउँपालिका सफल भएको छ । ‘एक घर एक धारा’ नीतिका साथ कार्यान्वयनमा गएको सो पालिकाले क्रमशः सबै घरमा धारा जोड्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

गत आर्थिक वर्ष २०८१/८२ को प्रगति विवरण सार्वजनिक गर्ने क्रममा आज यहाँ आयोजित कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले ८० प्रतिशत घरधुरीमा धारा जडान गरिएको र बाँकीमा पनि गरिने जानकारी दिएका छन्। पालिकामा सञ्चालित विभिन्न योजनाबाट ‘एक घर एक धारा’ विस्तार गरिएको हो ।

करिब दुई हजार ३०२ घरधुरीमा ‘एक घर एक धारा’ को पहुँच पुगेको छ । शुद्ध खानेपानीको पूर्वाधार निर्माणका लागि गाउँपालिकाको सहकार्यमा ‘सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता(सुस्वा) आयोजना’ मार्फत खानेपानी विस्तार गरिएको अध्यक्ष लक्ष्मीबहादुर शाहीले जानकारी दिए ।

गतवर्ष सञ्चालन गरिएको गाउँमै निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट करिब ९७१ जनाले सेवा लिएको पालिकाले जनाएको छ । यसैगरी सामाजिक सुरक्षाभत्ता बैंकमार्फत वितरण गर्न थालिएको छ । ‘छोरीको सुरक्षा जीवनभरि’ को कार्यक्रमअन्तर्गत ५६ जनाको बैंक खाता खोलिएको पनि गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत बुढाका अनुसार बैंक सेवामार्फत ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता वितरण गर्ने नीतिअनुसार ४८८ जनाले सेवा लिएका छन् ।

गाउँपालिकाले गत आर्थिक वर्षमा करिब रु २६ लाख ४३ हजार आन्तरिक राजस्व सङ्कलन गरेको र विभिन्न शीर्षकका १०९ वटा योजना सम्पन्न गरेको अध्यक्ष शाहीले जानकारी दिएका छन् ।

सिधनियाघाटमा तीव्र गतिमा पक्की पुल निर्माण हुँदै

राँझा (बाँके)  । नेपालगञ्ज(बघौडा हुलाकी सडकअन्तर्गत डुडुवा गाउँपालिका-५ स्थित राप्ती नदीको सिधनियाघाटमा फराकिलो पक्की पुल निर्माणले गति लिएको छ ।

करिब ११ मिटर चौडाइ रहने पुल निर्माणले गति लिएपछि बाँकेको नरैनापुर र राप्तीसोनारीका बासिन्दालाई आवागमनमा सहज हुनेछ । हाल यहाँ साँघुरो पुल भएकाले सवारीसाधन पालो कुरेर नदी पार गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

राप्ती नदीमा दुई लेनको पुल निर्माण भएपछि नदी वारपार गर्न पालो कुर्नपर्ने बाध्यता अन्त्य हुने स्थानीय सोहनलाल यादवले बताएका छन् । पुल निर्माण धमाधम भइरहेकाले शीघ्र सम्पन्न भई आवागमन सहज हुने उनले विश्वास व्यक्त गरेका छन् ।

उक्त पुलको हालसम्म ५० प्रतिशतभन्दा बढी प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए । सम्झौता भएपछि करिब एक वर्ष पुलको डिजाइनमा समय लागेकाले केही ढिलाइ भएको बताउँदै उनले आगामी असारभित्र निर्माण सम्पन्न हुनेगरी काम भइरहेको जानकारी दिएका छन् ।

सिधनियाघाटमा करिब डेढ दशकअघि निर्माण भएको पुल साँघुरो भएपछि फराकिलो बनाउन थालिएको हो । विसं २०७९ माघ १० गते लुम्बिनी रौताह बन्धन भगवती जेभी काठमाडौँसँग ५३ महिनामा काम सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।

पुलको लागत भ्याटसहित रु एक अर्ब १९ करोड रहेको योजना कार्यालयका प्रमुख भण्डारीले जानकारी दिएका छन् । करिब ७०० मिटर लम्बाइको पुल, एक हजार ४८० मिटर एप्रोच सडक र चार किलोमिटरसम्म नदी नियन्त्रणको काम एकसाथ सम्पन्न गर्ने योजना रहेको उनले बताएका छन् ।

एनपिएलको सुरक्षा प्रबन्ध दुरूस्त राख्न गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं।  गृहमन्त्री ओमप्रकाश अर्यालले भोलीबाट सुरु हुन गइरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिगको (एनपीएल) को बारेमा त्यसको सुरक्षा प्रबन्ध र अन्तिम तयारीबारे ब्रिफिङ लिएका छन् ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी इश्वरराज पौडेलसहित काठमाडौँ प्रहरी प्रमुख रमेश थापासँग एनपीएलको सुरक्षा तयारीबारे जानकारी लिएका हुन् ।

गृहमन्त्रीको सचिवालयको अनुसार बैठकमा अर्यालले क्रिकेट अवधिभर सुरक्षा व्यवस्था दुरूस्त राख्न र कुनै पनि अवान्छित घटना हुन नदिन सुरक्षा सतर्कता बढाउन निर्देशन दिए। ‘पहिलो पटक रात्रिकालीन समयमा पनि क्रिकेट हुने भएको यसपालिको सुरक्षा व्यवस्था झनै मजबुद र दुरूस्त हुन जरूरी भएकोले सोहि अनुसार प्रबन्ध मिलाउन हुन निर्देशन गर्दछु,’ उनले भने।

यसअघि पनि, एनपीएलको उद्घाटन खेल घरमै बसेर हेर्न नेपाल क्रिकेट संघ (क्यान)ले आग्रह गरिसकेको छ।

क्यानका सचिव पारश खड्काले भिडिओ सन्देश जारी गर्दै उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेकाले घरमै बसेर हेर्न आग्रह गरेका थिए । खड्काले भने, ‘सबै टिकट बिक्री भइसकेको तथा पहिलो दिन सधैँ चाप बढी हुने भएकाले टिकट नपाउनुभएका सबैले घरमै बसेर खेल हेरी सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ।’

दरबारमार्गमा जलरङ माध्यममा नौलो प्रयोग

काठमाडौँ । कला सिर्जनाका माध्यममध्ये महत्वपूर्ण र सुरुआती माध्यम जलरङ हो । पारदर्शी यो रङ खेलाउन जति सजिलो छ उति नै कठिन पनि हुन्छ । सुरुआती चरणमा कलाकारले जलरङ खेलाउँछन् । पछि छाड्दै गएका कैयौँ उदाहरण छन् । तर नेपाली धेरै कलाकारले आफ्नो अन्य माध्यमसँगै जलरङलाई पनि सँगसँगै लगिरहेका छन् । नेपालमा कलाकार एनबी गुरुङको संयोजकत्वमा अन्तरराष्ट्रिय जलरङ समाज नेपाल नै गठन गरेर जलरङको प्रवर्द्धन भइरहेको छ ।

त्यँही जलरङलाई नौलो रुपमा प्रस्तुत गरी कला सिर्जना गर्न सकिन्छ भन्ने सन्देशसहित दरबारमार्गमा कलाकारले जलरङकको प्रयोग गरी फरक शैलीमा सिर्जना गरेका चित्र देख्न पाइन्छ । दरबारमार्गस्थित १०८ ग्यालरीमा जलरङ माध्यममा बनाइएका तीन कलाकारका कला प्रदर्शनी भइरहेको छ ।

वरिष्ठ कलाकार हरेराम जोजु, कलाकार दिराम पाल्पाली र समाजका अध्यक्षसमेत रहेका कलाकार गुरुङ लामो समयदेखि कला सिर्जनामा पोख्त छन् । उनीहरुका कलाले अहिले दरबारमार्गको १०८ ग्यालरी कलामय बनेको छ । यहाँ प्रदर्शित कलामा उनीहरुको विषय र टेक्निक फरकफरक पाइन्छ । कलाकार गुरुङका अमूर्त तथा मुहार चित्रका कला हेर्न पाइन्छ ।

जोजुले केही सम्पदा समेट्ेका छन् । प्रयोगवादी धारा अपनाउने जोजुका यहाँ केही प्रयोगात्मक कला देख्न पाइन्छ । उनी प्रायः नौलो प्रस्तुति दिन रुचाउने कलाकार हुन् । यसपाली उनले सिटीका दृष्यचित्र र सम्पदालाई समेट्ेका, तर नौलो प्रस्तुतिका साथ । नेपाली कागजमा विरलै प्रयोग हुन्छ जलरङ । त्यसैलाई सम्भव गरेर देखाईएको छ कलाकार जोजुले ।

पोखराका सशक्त कलाकार जोजु ‘न्युरो आर्ट’ अवधारणालाई नेपालमा सशक्त बनाउँदै आएका छन् । उक्त धारका कलालाई उनले नेतृत्व नै गरिरहेका छन् । यो धारको कलाले मानव मस्तिष्क, न्युरोसाइन्स, मनोविज्ञान, र चेतन मनलाई कलात्मक रूपमा प्रस्तुत गर्छ । उनको अर्को पहिचान हो ‘अल्कोहल इङ्क आर्ट’ । यो पनि उनले नै नेतृत्व गरिरहेको छ भन्दा फरक पर्दैन । उनका यी कलाले मनोपरामर्शको काम गर्छ । कला थेरापीकै रुपमा उनले काम गर्दै पनि आएका छन् । यी दुई कलाशैलीमा विज्ञानको संयोजन रहेको पाइन्छ । फरक र नयाँ प्रयोग गर्न रुचाउने जोजुले हाल दरबारमार्गमा जारी महिनाव्यापी कला प्रदर्शनीमा पनि जलरङको नयाँ प्रयोग गरीएको छ । क्यान्भास वा आर्ट पेटरलाई छाडेर नेपाली कागजमा त्यसमाथि जलरङ पोतेर चित्र कोर्नु उनको नौलो प्रयोग हो ।

उनले भने, “म नयाँ तरिकाले काम गर्न चाहन्छु, त्यसैले यहाँ नेपाली कागजमा जलरङ प्रयोग गरेर कला बनाएको छु, यसको फाइदा के भने हाइलाइट निकाल्न सकिन्छ, यो तरिकाले गाह्रो विषय पनि वाटरकलरबाट बनाउन सकिन्छ है भन्ने देखाएको छु ।” उनका कुनै कला एक्रेलिक कुनै अइल कलरका झैँ लाग्छन् । एक जना कार्टुनिष्ट अनुप तमु गुरुङ झट्ट हेर्दा उनका यहाँ प्रस्तुत कला एक्रेलिक माध्यम हो की झैँ देखिने बताँउछन्। उनले कलाकार जोजुले सुन्दर ढङ्गले कलामा नौलो प्रयोग गरेको बताएका छन् ।

जलरङमा पूर्ण अमूर्त कला खासै देखिँदैन । अन्तरराष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष गुरुङले त्यही जलरङका अमूर्त कला देखाएको छ । उनले रङलाई फटाएर गरिने विधि ‘ग्रानुलेसन’को प्रयोग गरेका छन् । यो विधिमा रङलाई पानीले धकेलेर आकारमा ढाल्ने गरिन्छ । गुरुङका मुहार चित्र, अमूर्त र रियलिष्टिक कला यहाँ देख्न सकिन्छ ।

नेपालमा नयाँ प्रयोगका रुपमा उनले वाटरकलर बगाएर नियन्त्रित कला सिर्जना गर्नु आफैँमा चुनौतीपूर्ण अभ्यास हो । कलाकार गुरुङ भन्छन्, “वाटरकलरको गुण भनेको एकले अर्कोलाई धकेल्दै अघि बढ्ने हो, जति रोकावट हुन्छ, पछाडिको दबाबले धकेलिदिन्छ, यदि बाँध फुट्यो भने ठूलो शक्ति बोकेर निस्किन्छ नी, हो त्यसैगरी यो कलामा पनि पानीको दबाबमा रङ फाटेर आइदिन्छ, यहाँ मैले नियन्त्रित रङ बगाएर चित्र सिर्जना गरेको छु ।”

चित्र अवलोकन गर्दा यी सिर्जना पूर्ण अमूर्त र साइकोलोजिकल देखिन्छ । तर कला पारखीले आआफ्नै तरिकाले बुझ्न सक्छन् । यहाँ फरकफरक व्याख्या गर्नसक्ने खालका सिर्जना छन् । ‘मिष्टी हिल’ शीर्षक दिइएको उक्त नौलो जलरङ माध्यमका उनका कलामा पहाडमा हुस्सु र कुहिलो मडारिइरहेको झैँ लाग्छ । कुहिरो मडारिँदा पहाडलाई ढाक्ने र कतैकतै खुला रहने अवस्थाले प्रकृतिको सुन्दरतामा नयाँ आयाम थपिदिन्छ । उनका उक्त चित्रले त्यही पहाड र बादलुको घुम्टोलाई समेटेको अनूभूति मिल्छ ।

अर्का कलाकार पाल्पालीले जलरङकै माध्यममार्फत काठमाडौँका सम्पदालाई उठाएका छन् । उनले दृष्यचित्रसहितका सम्पदालाई र सांस्कृतिक विषयलाई १० वटा चित्रमार्फत प्रस्तुत गरेका छन् । उनका सिर्जनामा उपत्यकाका सम्पदा देख्न पाइन्छ । उनले भने, “उपत्यकाका सम्पदा, संस्कृति र दृष्यचित्रलाई जलरङका माध्यमबाट प्रस्तुत गरेको छु ।” ‘द भिजन वान इसेन्स’ शीर्षकमा जारी कला प्रदर्शनी एक महिनासम्म चल्नेछ ।

कार्बन साझेदारी कोषबाट मुलुकलाई एक अर्ब १९ करोड प्राप्त

काठमाडौँ । तराई आर्क क्षेत्रअन्तर्गतको ‘आरइडिडीप्लस’ उत्सर्जन कटौती कार्यक्रममार्फत करिब १८ लाख ८८ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सफल भएपछि मुलुकले विश्वव्यापी वन कार्बन साझेदारी कोषबाट रु एक अर्ब १९ करोड प्राप्त प्राप्त गरेको छ ।

यो रकम कोषअन्तर्गतको इमिसन रिडक्सन पेमेन्ट एग्रिमेन्ट ९इआरपिए०अनुसार नेपालले पाएको यो पहिलो भुक्तानी हो । यसले वन विनाश रोक्ने, समावेशी तथा दिगो वन व्यवस्थापन प्रवद्र्धन गर्ने नेपालका प्रयास मुखरित भएको विश्व बैंकले आज एक विज्ञप्ति निकालेर जनाएको छ ।

बैंकले यो उपलब्धिबाट नेपालले वन विनाश रोक्न, जैविक विविधता संरक्षण बढाउन र स्थानीय समुदायका लागि दिगो जीविकोपार्जनका अवसर विस्तार बल पुग्ने विश्वास व्यक्त गरेको छ ।

(वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्र)

नवगठित नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने भएको छ ।

पेरिसडाँडामा बसेको विभिन्न घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका पूर्वपदाधिकारीहरूको बैठकले सातै प्रदेशमा सन्देश सभा गर्ने आयोजना भएको हो ।

पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्न लागिएको बताए । यद्यपि कुन प्रदेशमा कहिले सभा गर्ने भन्नेबारे निर्णय लिन बाँकी रहेको उनले बताए ।

भोलि (सोमबार) बेलुकीसम्ममा कहाँ कहिले सभा गर्ने भन्नेबारे निर्णय लिइने उनले बताए ।

प्रहरीद्वारा लुटपाटमा संलग्नको नाम, ठेगाना, सम्पर्क उपलब्ध गराउन आग्रह

गण्डकी । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा तोडफोड, आगजानी र लुटपाटजस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिको पहिचानमा कास्की जिल्ला प्रहरी कार्यालयले सक्रियता देखाएको छ । प्रहरीले सरकारी कार्यालयसहित व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटको भिडियो सार्वजनिक गर्दै त्यस्ता कार्यमा संलग्न देखिएका व्यक्तिलाई पहिचान गर्न सकेमा नाम, ठेगाना, सम्पर्क नम्बर आदि उपलब्ध गराउन आग्रह गरेको छ ।

आपराधिक गतिविधिमा संलग्न व्यक्तिका बारेमा सूचना दिने व्यक्ति–संस्थाको गोपनियता कायम राखिने कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताएका छन् । आन्दोलनका नाममा आपराधिक कार्य गर्ने व्यक्तिको पहिचान गर्न सहज होस् भनेर सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरी यस कार्यमा सघाउन सबैमा आग्रह गरिएको उनको भनाइ छ ।

जेनजी प्रदर्शनका क्रममा भएका आपराधिक घटनामा संलग्न केही व्यक्ति पक्राउसमेत परिसकेको र उनीहरूमाथि थप अनुसन्धान अगाडि बढाइएको सूचना अधिकारी बस्नेतले बताएका छन् । “आन्दोलनमा भएका लुटपाट, तोडफोड, आगजनीजस्ता घटनामा संलग्न व्यक्तिलाई खोजी गरी नियन्त्रणमा लिइरहेका छौँ”, उनले भने, “किटानी जोहरी र उजुरीका आधारमा अहिलेसम्म ३८ जना पक्राउ परिसकेका छन्, उनीहरूमाथि आपराधिक उपद्रव मुद्दामा अनुसन्धान भइरहेको छ ।”

प्रदर्शनकारीले लुटेका केही हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । जेनजी प्रदर्शनका क्रममा गण्डकी प्रदेशको राजधानी पोखरामा रहेका अधिकांश सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो । आन्दोलनमा कास्कीसहित गण्डकी प्रदेशभित्र सरकारी र निजी क्षेत्रतर्फ गरी झण्डै रु पाँच अर्बबराबरको क्षति पुगेको जनाइएको छ । कास्की, तनहुँ, नवलपुर, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा गरी सात जिल्लाका एक सय ३८ वटा सरकारी कार्यालय र ६१ वटा निजी संरचनामा क्षति पुगेको जनाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेशभित्र तीन सय ६१ वटा दुईपाङ्ग्रे सवारीसाधनमा आगजनी भएको, सातवटा तोडफोड गरिएको र तीनवटा हराएका छन् । एक सय ६१ वटा चारपाङ्ग्रे सवारीसाधनमा आगजनी भएको र ३१ वटा तोडफोड भएका छन् । प्रदर्शनका क्रममा प्रदेशभित्र तीन जनाले ज्यान गुमाएका थिए भने सुरक्षाकर्मी र आन्दोलनरत पक्षतर्फ गरी ७० जनाभन्दा बढी घाइते भएका थिए ।

जेनजी आन्दोलनका सहिदः जेनजी मार्ग र गौरव जोशी मार्ग नामकरण

सुदूरपश्चिम । जेनजी आन्दोलनमा निधन भएका धनगढी उपमहानगरपालिका–५ तारानगरका २३ वर्षीय गौरव जोशीको मुखबाट पाँच दिनअघि नै आफू सहिद हुने वाणी आइसकेको थियो ।

डेरामा आमा माया जोशीसँग आन्दोलनको पाँच दिनअघि भएको संवादमा गौरवले जेनजी आन्दोलन हुँदैछ भन्ने जानकारी गराएका थिए। आमासँगको संवादमा गौरवले देशका लागि आफू सहिद हुन परे पनि हुन्छु भनेर आन्दोलनमा हिँडेका थिए ।

गौरवको काठमाडौँ बानेश्वरमा भदौ २३ गते भएको प्रदर्शनका क्रममा चलेको गोली लागेर निधन भएको थियो । आमासँग भदौ २३ गते पनि भएको संवादको क्षण सम्झिँदै स्व गौरवकी दिदी आइसाले भनिन् “आन्दोलन शान्तिपूर्ण हुन्छ, देशका लागि आफू सहिद हुनुपरे पनि हुन्छु, आन्दोलनमा जान्छु है आमा भनेका थिए, आमाले भने नजाउ बाबु, घरमै बसेर किताब पढ भनेर सल्लाह दिएकी थिईन् ।” तर जेनजी आन्दोलन शान्तिपूर्ण हुन्छ भन्दै डेराबाट निस्किएका गौरवको आमासँगको त्यो दिनको संवाद नै अन्तिम बन्न पुग्यो ।

बानेश्वरमा कोठा भाडामा लिएर आमा र दिदीसँगै बसेका गौरवमा नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने क्षमता थियो । गोली लाग्नुअघि गौरवले सामाजिक सञ्जाल बन्द र बेथितिविरुद्ध तथा भ्रष्टाचार नियन्त्रणका मुद्दामा दिइरहेको प्रतिक्रिया ‘भिडियो’मार्फत सार्वजनिक भएको देखिएको थियो ।

घरका एक्लो छोरा गौरवको निधनको पीडाले जोशी परिवारका सदस्यलाई पोलिरहेको छ । कलिलै उमेरमा भएको निधनपछि गौरवका बुबा, आमा र दिदीका आँसु रोकिएका छैनन् । पुत्रशोकका कारण बुबा ७६ वर्षीय वासुदेव घरमा भेट्न आउनेसमक्ष एकोहोरो टोलाइरहन्छन् । समवेदना दिन उनको घरमा पुग्ने आफन्तजन, इष्टमित्र, साथीभाइले स्वर्गीय गौरवप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना दिइरहेका छन्।

विदेश गएर कमाइ गरी परिवारको सहज जीविकोपार्जनमा बुबालाई सहयोग गर्ने गौरवको योजना थियो । तर विदेश पुगेर गर्ने कमाईले परिवार पाल्ने आफ्नो वचन पूरा नगर्दै सधैँका लागि अस्ताएपछि गौरवको परिवार सदस्य सहराविहीन भएको छ । विदेश गएर कमाई गर्ने योजनासहित जोशीले विभिन्न देशका लागि राहदानीका लागि प्रयास गरिरहेका थिए ।

प्रयास सफल हुन नसकेपछि बेलायत जानका लागि अर्को तयारी गरिरहेका थिए। विदेश जानका लागि ऋण निकालेर बैंकमा राखेको पैसा खर्च गर्न मानिरहेका थिएन्न ।

वासुदेवले भने, “छोरा गौरवसँगै भिसाका लागि प्रक्रिया अघि बढाएका भतिजा प्रविन जोशी बेलायत उडेकै दिन आफू भने पशुपतिमा गौरवको अन्त्येष्टिमा जानुपर्ने भयो, दैव पनि कस्तो निष्ठुरी बन्छ रु” उनले छोरालाई इञ्जिनियर पढ्न चाहिने खर्चका लागि धनगढीको आफू बसेको घरलाई बैंकमा धितो राखेर ऋण लिएका थिए । तर गौरवले इञ्जिनियर नपढी बेलायत गएर कमाई गर्ने इच्छा राखेर राहदानीका लागि पहल गरिरहेका थिए।

घर नजिकैको एक बोर्डिङ स्कुलमा कक्षा ४ सम्म अध्ययन गराउँदा पढाई राम्रो नभएपछि उनले गौरवलाई ऐश्वर्य विद्या निकेतन धनगढीमा भर्ना गराएका थिए । त्यस विद्यालयमा १२ कक्षा उत्तीर्ण भएपछि गौरव तीन वर्षअघि इन्जिनीयर अध्ययन गर्ने योजनासहित उनी काठमाडौँ पुगेका थिए। काठमाडौँ पुगेपछि बिहान स्वास्थ्यका लागि जिम क्लबमा जाने, प्रत्येक तेस्रो दिन पशुपति मन्दिरमा साँझपख बालिने आरती अवलोकनका लागि पुग्नुपर्ने उनको दिनचर्या बनेको थियो ।

जेनजी आन्दोलनमा सहिद भएका परिवारका सदस्यले आगामी केही दिनभित्रै प्रधानमन्त्रीलाई भेटेर सहिद परिवारका लागि राहतका योजना ल्याइदिन माग गर्ने तयारीमा छन् । उनले भने, “आगामी मङ्सिर पहिलो हप्तामा काठमाडौँ पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्ने योजनामा छौँ, सरकारले सहिद परिवारको सहज जीवनयापनका लागि केही राहत वा रोजगारीका कार्यक्रम ल्याइदिनका लागि आग्रह गर्दैछौँ ।”

कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालित हटैराज सहकारी संस्थाले गत बिहीबार सहिद गौरवका बुबा वासुदेव र दिदी आइसालाई बोलाएर सम्मानित गरेको थियो । “आफूहरुलाई बोलाएर सम्मानित गरिँदा जसको परिवारको सदस्य सहिद हुन्छ उसले सहिदको महत्व र गरिमा बुझ्ने रहेछ, सम्मानित हुन पाउँदा थोरै भए पनि पीडामा मह्लमपट्टी लागेको अनुभूति भयो”, वासुदेवले भने । यो संस्था सहिद दशरथ चन्दको जन्मथलो बैतडी जिल्ला पुख्र्यौली भएर हाल कञ्चनपुरको महेन्द्रनगर बसोबास गरिरहेका चन्द समुदायका व्यक्तिले स्थापना गरेको संस्था हो । यस संस्थाको पहलमा जोशी परिवारलाई रु एक लाख ३० हजारको सहयोग पनि गरेको छ ।

गौरवलाई नेपाली विषय अध्यापन गराएका ऐश्वर्य विद्या निकेतन धनगढीका शिक्षक कमल जोशी कक्षामा गौरव अनुशासित र शान्त स्वभावका विद्यार्थी रहेको बताउछन् । उनले भने, “उनी साथीभाइमाझ शान्त, सालिन, कम बोल्ने, अनुशासित विद्यार्थी थिए, जेनजी आन्दोलनमा धनगढीका गौरवको निधन भएको भन्ने खबर पाउँदा विद्यालय परिवार दुःखी भयो ।” विद्यालयका विद्यार्थी र शिक्षकले विद्यालय परिसरमै मैनवत्ती बालेर स्वर्गीय गौरवको आत्माको चिरशान्तिका लागि कामना गरेका थिए ।

बैतडीको दोगडाकेदार पुख्र्यौली घर भएका जोशी वन कार्यालयमा अस्थायी रुपमा कार्यरत रहँदा साढे चारदशकअघि धनगढीमा बसाइँसराइ गरेका थिए । उनले वन कार्यालयको अस्थायी नोकरी छाडेर धनगढीमा फर्निचर उद्योग चलाएर भएको आम्दानीले दुःख र सङ्घर्ष गर्दै घरायसी खर्चको जोहो गरेका थिए । अहिले उनको सामाजिक सुरक्षा भत्ता र आफू बस्ने घरको केही कोठा भाडामा लगाएर हुने कमाईबाहेक अन्य आम्दानीको स्रोत छैन ।

गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा उनले छोरालाई गोली लागेको खबर दोस्रो दिन बिहान मात्रै पाएका थिए । जोशीले थपे, “धनगढीमै रहेको सहोदर भाइको घरबाट खबर सुनाउन आफ्नो घरमा बिहानै चार/पाँच जना पुगेर खबर सुनाउँदा झसङ्ग भएँ, त्यसपछि अन्योल र अनिश्चितता भयो । संसार नै अध्याँरो जस्तो भयो ।”

पहिलो श्रीमतीबाट छोरा नजन्मिएपछि छोराको आशमा उनले दोस्रो विवाह गरेका थिए । कान्छी श्रीमतीबाट छोरी आइसा र छोरा गौरव जन्मिएका थिए । उनकी छोरी आइसा जोशी ‘एयर होस्टेज’ अध्ययन सकाएर नोकरीको खोजीमा छन् । ऊर्जा मन्त्री कुलमान घिसिङले छोरीलाई एयरहोस्टेजको नोकरी दिलाउन पहल गरिदिने अश्वासन दिएको जोशीले बताए । “जन्मेपछि मृत्यु त अनिवार्य हुन्छ नै तर त्यसले कृति गरेर जाँदाको अर्थ र महत्व बेग्लै हुने रहेछ, बैतडीमा जन्मिएका सहिद दशरथ चन्दले कृति बनाएर गएजस्तै आफ्नो छोराले पनि कृति बनाएर गएको छ”, वासुदेवले भने ।

सरकारले सामाजिक सञ्जाल बन्द गर्दा जेनजीहरुले आन्दोलन गर्दैछन् भन्नेसम्म सूचना पाएका जोशीले गोली लागेर छोराको मृत्यु हुन्छ भन्ने कल्पना पनि गरेका थिएन्न । घटनापछि परिवारका अन्य सदस्यसँगै उनी छोराको अन्त्येष्टिका लागि धनगढीबाट काठमाडौँ पुगेका थिए। उनले थपे, “काठमाडौँमा छोराको अन्त्येष्टिका दिन भएको शब यात्राले आफूलाई चिनायो, आफ्नै ठाउँ धनगढीमा भने छोराको फोटोसहितको यात्राले बजार परिक्रमा गरिदिएको भए मन केही शान्त हुन्थ्यो तर कसैले गरेनन् ।”

सरकारले जेनजी आन्दोलनमा मृत्यु भएका गौरव जोशीसहितका व्यक्तिलाई सहिद घोषणा गर्दै जनही रु १५ लाख राहत उपलब्ध गराइसकेको छ । स्व। गौरवको स्मृतिमा धनगढीको कुनै सार्वजनिक ठाउँमा शालिक निर्माण गर्नका लागि जग्गा र आर्थिक सहयोगदाताको खोजीमा बासुदेव छन् । तर कतैबाट पनि सहयोग पाएका छैन्न ।

“सालिक निर्माणका लागि सार्वजनिक जग्गाको खोजीमा छु, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले विवाद नआउने खालको जग्गा खोज्नुस्, सहयोग गर्छौं भन्ने अश्वासन दिनुभएको छ”, जोशीले भने । सहिद गौरवको स्मृतिमा धनगढीको पार्कमोडमा हालै श्रद्धाञ्जलीसभा गरिएको थियो । भदौ २३ गतेको काठमाडौँ केन्द्रित जेनजी आन्दोलनपछि दोस्रो दिन २४ गते भड्किएको प्रदर्शनका क्रममा सुदूरपश्चिम प्रदेशसहित देशभर धनजनको ठूलो क्षति पुगेको थियो ।

जेनजी आन्दोलनपछि धनगढी उपमहानगरपालिका कार्यालयले कार्यालय नजिकै रहेको पार्क मोड आसपासको सडकलाई ‘जेनजी मार्ग’ नामकरण गरेको छ । यसैगरी तारानगर टोलस्थित गौरव जोशीको घर अगाडिको सडकलाई टोलवासीको पहलमा ‘गौरव मार्ग’ नामकरण गरिएको छ ।

गृहमन्त्रीको निर्देशन : न्याय अनुभूति दिलाउने गरी काम गर्नू

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुरुप काम गर्न र उनीहरुलाई न्यायको अनुभूति दिलाउने गरी कार्य गर्न आफू मातहतका निकायलाई निर्देशन दिएका छन् । आज (आइतबार) गृह मन्त्रालयमा आयोजित गृहसचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको नियमित ‘एसएमटी बैठकमा विशेष उपस्थिति जनाउँदै मन्त्री अर्यालले सम्पूर्ण कर्मचारीहरुले एक्टिभिष्ट जसरी आ–आफ्नो जिम्मेवारी निर्वाह गरी सम्पूर्ण ध्यान निर्वाचन र यसको तयारीमा लाग्न समेत निर्देशन दिए ।

‘अहिलेको सरकार भनेकोकै निर्वाचनको सरकार भएकोले हामीलाई पुरानै संरचना र ऐन नियममा रहेरभन्दा पनि प्रविधिको प्रयोग गर्दै चुनावलाई अझ बढी सहभागिता मुलक बनाएर जनतालाई आफ्नो मताधिकारको सुनिष्चितता कायम गर्ने गरि जिम्मेवारी बहन गर्न निर्देश गर्दछु,’ मन्त्री अर्यालले बैठकमा भने । मन्त्री अर्यालले विभागीय प्रमुखहरुलाई आ–आफ्नो माताहतका कार्यालयहरुको जिम्मेवारी प्रभावकारी ढंगबाट सम्पादन गर्न निर्देशन गर्दै भने, ‘बढीभन्दा बढी कर्मचारीहरुले पनि जनसरोकारको विषयमा चासो राख्ने र सम्बन्धित ठाउँमै पुगेर सेवाग्राहीको काम गर्न र परिवर्तनको अनुभूती महसुस गर्ने गरी सेवा प्रवाहमा लाग्न निर्देशन गर्दछु ।’

उनले गृह मन्त्रालयमा स्थापना गरिएको जेन–जी समन्वय समिति र पीडितहरुका गुनासा बढी सुन्न र सम्बोधन गर्न सकिएमात्रै बाहिर अरुले बनाउने गलत र भ्रमपूर्ण भाष्यलाई मन्त्रालयले चिर्न समेत मातहतका निकायलाई निर्देशन दिए । बैठकमा गृहमन्त्री अर्यालले घाइतेहरुको राहत कार्यविधि छिट्टै टुंग्याउने र जेन–जी घाइतेहरुलाई फिल्डमै राहत कार्ड वितरणमा गर्न समेत आदेश दिए ।

गृह सचिव रामेश्वर दंगाले मन्त्रालयले र आफु माताहतका कर्मचारीहरुले गर्नु भएको कार्यसम्पादनमा आफु सन्तुष्ट नै रहेको र मन्त्रालयको जिम्मवारी सम्हालेपछी दर्जन बढी नियमावलीहरू जस्तै राष्ट्रिय परिचयपत्र नियमावली, सशत्र प्रहरी नियमावली लगायत संशोधन भइसकेका र नागरिकता नियमावली पनि अन्तिम चरणमा पुगेको बैठकमा जानकारी दिए ।

सचिव दंगालले मातहतका प्रमुहरुलाई मन्त्रालयको तत्काल सुधार कार्ययोजनालाई प्राथमिकतामा राखी काम गर्न पनि निर्देशन दिए । भदौ २३ गतेको घटना पछि मन्त्रालयमा काम गर्ने शैलीमा हिजोभन्दा आज आकाश जमिनको फरक आएको बताउंदै, कर्मचारीहरुलाई त्यसै अनुरुपको भावना कायम राख्न निर्देशन दिए । बैठकमा मन्त्रालय अन्तर्गतका रहेका विभागीय प्रमुख, महाशाखा र शाखा प्रमुहरुले आफ्नो क्षेत्रका प्रगति र बस्तुस्थितिबारे जानकारी गराएका थिए ।

वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार छैन : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार नरहेको बताएका छन् । आज (आइतबार) गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको भन्दै निर्वाचन गराउने अधिकार नरहेको बताएका हुन् ।

उनले एमाले निर्वाचनबाट नभागोस् भन्ने गरिएको भन्दै एमाले निर्वाचन गराउनु पर्छ भन्ने पक्षमा रहेको बताए । उनले देशको सबैभन्दा ठूलो र मजबुत पार्टी निर्वाचनबाट कहिल्यै नभाग्ने पनि स्पष्ट पारे । उनले यति धेरै हतियार लुटिएको, धेरै कैदीबन्दीहरु फरार रहेको समयमा निर्वाचन हुन नसक्ने बताए । अहिलेको सरकारसँग निर्वाचन गराउने केको हक छ ? उनको प्रश्न छ ।

उनले भने, ‘कतिपय साथीहरूले भनेको सुनिन्छ, चुनावका लागि भाग्ने होइन, नेकपा एमाले । भनिरहनु पर्छ र भन्या ? देशका सबैभन्दा ठूलो, सबैभन्दा मजबुत पार्टी चुनावबाट भाग्ने होइन, त्यस्ता लुते कुरा गरिरहनु पर्छ र ? गर्ने नै होइन नि । चुनाव भए, हामी त चुनाव गराउन चाहन्छौँ । तर यत्रा हतियार बाहिर, यत्रा कैदीबन्दीहरु बाहिर छन् । यस्तो सरकार । असंवैधानिक सरकार । योसँग चुनाव गराउने केको हक छ ? हक नै छैन । यो अनधिकृत हो । त्यसकारण यस्तो अनधिकृत । अनुभव बिहीन छ । हामी सबैले सबैका लागि विघटित प्रतिनिधि सभाको तत्काल पुनःस्थापनाको माग जोडदार ढंगले अघि बढाउनुपर्छ । मिडियाहरू देशलाई माया गर्दछन् भने तिनका सम्पादकीय यस्तामा लेखिनु पर्छ ।’ अध्यक्ष ओलीले सबैले तत्काल विद्धटित प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्नुपर्ने बताए ।

व्यावसायिक फूलखेतीबाट रु आठलाख आम्दानी

अत्तरिया (कैलाली) । कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीकी सुशीला विष्टले व्यावसायिक फूलखेतीबाट राम्रो आम्दानी लिन थालेकी छिन्।

फार्म दर्ता गरेर विगत दुई वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएकी उनले फूल बिक्रीबाट मनग्य आम्दानी गर्न थालेकी हुन् । दुई बिघा जग्गा भाडाँमा लिएर व्यावसायिक फूलखेती गर्दै आएको बताउँदै विष्टले फूलबाट वार्षिक रु २० लाखसम्मको कारोबार हुने गरेको बताँउछिन्। आम्दानी राम्रै हुन्छ । कामदारलगायत सबै खँर्च कटाएर वार्षिक रु आठ लाखसम्म बचत हुन्छ । बाह्रै महिना फूल उत्पादन हुन्छ, यस वर्षको दसैँतिहारमा मात्र करिब रु १० लाखबराबरको कारोबार भएको उनले बताएकी छिन् ।

उनले भने, “मूल्य समयअनुसार फरकफरक हुन्छ । फूल प्रतिकिलो रु एक सय ५० देखि पाँच सयसम्म र प्रतिमाला रु ६० देखि रु एक सयसम्ममा बिक्री गर्ने गरिएको छ ।” उनले भने, “चार जनाको परिवार छ । यसबाटै भएको आम्दानीले घरँखर्च सहजै चलेको छ । बचत पनि राम्रै हुन्छ । स्वरोजगार बनिएको छ ।”

धनगढी उपमहानगरपलिकाले दिएको फूलखेतीसम्बन्धी एकहप्ते तालिम लिएर फूलखेतीमा लागेको बताउँदै उनले सयपत्री, गुलाब, रजनीगन्धा, सूर्यमुखी, सुपारीलगायतका फूल उत्पादन गर्दै आएको बताएकी छिन्। उनले आफ्नो फार्ममा आठ जनालाई प्रतिव्यक्ति रु छ सयका दरले दैनिक ज्याला दिएर रोजगारी दिएको बताउँछिन् । उनले व्यावसायिक फूलखेतीबाट राम्रै आम्दानी हुने भए पनि फूलको बीउ र मलखाद पाउन अप्ठ्यारो हुने गरेको बताउँछिन् । फूलखेतीका लागि कृषि विकास निर्देशनालय र धनगढी उपमहानगरपालिकाबाट प्लाष्टिक टनेल, सिँचाइ बोरिङ, थोपा सिँचाइमा अनुदान समेत पाएको बताँउछिन् । फूलखेतीमा बीमा पोलिसी नभएको बताउँदै उनले बीमा पोलिसी भए फूलखेती गर्ने किसानलाई अझै सहज हुने बताउदै आएकी छिन् ।

नेकपाका नेताहरू पेरिसडाँडामा छलफलमा

काठमाडौं । नव गठित नेपाली कम्युनिष्ट पार्टीका नेताहरु छलफलमा जुटेका छन् । आज (आइतबार) दिउँसो पेरिसडाँडास्थित पूर्व नेकपा (माओवादी केन्द्र) को कार्यालयमा नेताहरु छलफलमा जुटेका हुन् । बैठकमा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल, वामदेव गौतम, भीम रावल, अग्निप्रसाद सापकोटा, महिन्द्रराय यादव, नन्दबहादुर पुन लगायतका नेताहरुको उपस्थिति रहेको छ । बैठकले नपाली कम्युनिष्ट पार्टीको भावी कार्यक्रम तय गर्नेछ । बैठकले प्रदेश–प्रदेशमा एकता सन्देश कार्यक्रम गर्न स्थान र समय तय गर्नेबारे पनि छलफल चलिरहेको दाहालको सचिवालयले जनाएको छ ।

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्वन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई न्यायोचित रूपमा तल्लो तहसम्म पुर्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपालको रेडप्लसअन्तर्गत उत्सर्जन न्यूनीकरणसम्बन्धी धनगढीमा आयोजित दुईदिने कार्यशालामा वनजङ्गल जोगाएर उत्सर्जन न्यूनीकरणमा पहिलो भूमिका आदिवासी जनजाति एवं सीमान्तकृत समुदायले खेलेकाले प्राप्त हुने लाभांश पनि आदिवासी र सीमान्तकृतलाई न्यायोचित ढङ्गले बाँडफाँट गर्नुपर्ने बताएका छन् ।

डेडिकेटेड ग्रान्ट मेकानिजम(डिजिएम)नेपाल, ग्रामीण पुनःस्थापना नेपालको आयोजनामा भएको कार्यशालमा वनविज्ञ रुपेश कालाखेतीले कार्वन उत्सर्जनका कारण वातावरणमा परेको नकारात्मक असरबारे प्रकाश पार्दै नेपालले कार्वन उत्सर्जनमा न्यून योगदान दिए पनि क्षति धेरै व्यहोर्नुपरेको बताए । उनले भने, “नेपालले कार्वन उत्सर्जनका कारण क्षति धेरै व्यहोरिरहेकाले क्षतिपूर्तिबापतको रकम प्राप्त हुन लागेको छ, विश्व बैंकले दुई दिनअघि मात्र पहिलो किस्ताबापत नेपाललाई रु एक अर्ब ३२ करोड लाभांश रकम उपलब्ध गराइसकेको छ ।”

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का अध्यक्ष लक्की चौधरीले वन जोगाउन बढी भूमिका खेल्दै आएका आदिवासी जनजाति र सीमान्तकृत वर्ग अझै पनि जल, जङ्गल, जमिनसँग अपेक्षकृत रूपमा जोडिन नसकिरहेको बताएका छन् ।

उक्त रकमबाट वनको विकास गर्दै विनास एवं क्षयीकरणमा कमी ल्याउन दिगो वन व्यवस्थापनमार्फत उत्सर्जनमा कटौती गर्न विभिन्न कार्यक्रम गर्न लागिएको जनाइएको छ । रेडप्लस कार्यक्रममा लाभको बाँडफाँट भन्नाले वन क्षेत्रबाट कार्वन उत्सर्जन घटाउने कार्यमा प्राप्त भएको मौद्रिक र गैरमौद्रिक फाइदालाई त्यसका लागि योगदान गर्ने सम्बन्धित सरोकारवालाबीच न्यायपूर्ण रूपमा वितरण गर्ने प्रक्रियालाई जनाउँछ ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धि (युएनएफसीसिसी)लगायत विभिन्न अन्तरराष्ट्रिय वातावरणसम्बन्धी सन्धि, सम्झौतामा हस्ताक्षर गरेको नेपाल सन् २००८ देखि रेडप्लससम्बन्धी प्रक्रियामा सहभागी भइरहेको छ । यसै सिलसिलामा सन् २०१० देखि विश्व बैंकको वन कार्वन साझेदारी कार्यक्रम (एफसीपिएफ)को सहयोगमा नेपालले औपचारिक रूपमा रेडप्लसको तयारीका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न सुरुआत गरेको हो ।

कार्वनडाइअक्साइड उत्सर्जनले हुने जलवायु परिवर्तनले बेमौसमी वर्षा हुने, भइहालेमा डुबान तथा बाढीपहिरोको जोखिम हुने, भूक्षय हुने, सुक्खा पहिरो जाने, तापक्रम बढ्नेलगायतका समस्या नेपालजस्ता देशले भोग्नुपरेको छ । आगलागी, औद्योगिकीकरण फोहरमैला, कृषि पशुपालन, यातायातका साधन, वनविनास तथा भूउपयोगका गतिविधिले जलवायु परिवर्तनमा असर पुर्याइरहेको छ ।

अध्यक्ष ओलीको प्रश्न : खासमा यो सरकार कसको हो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट नभएको टिप्पणी गरेका छन् । पार्टी निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको टोलीसँग आइतबार आफ्नै निवास गुण्डुमा छलफल गर्दै अध्यक्ष ओलीले अपनत्व कसैले पनि नलिएको बेवारिसे सरकार भन्दै प्रश्न उठाएका हुन्।

बेवारिसे सरकारले तोडफोड र आगलागीमा संलग्नलाई कारबाही नगरेर दण्डहीनतालाई प्रश्रय दिएको दावी गर्दै ओलीले प्रश्न गरे, ‘यो सरकार कसको प्रतिनिधि हो ? जेनजीले मेरो सरकार होइन भन्छ । दलले हाम्रो सरकार होइन भन्छन् । संसदले यसलाई म चिन्दिनँ भन्छ । संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्था नै छैन भन्छ आखिर यो सरकार कसको हो ?’

अवैधानिक र अनधिकृत रुपबाट विघटन गरिएको संसदलाई पुनःस्थापना गरेर मात्र देशलाई सही बाटोमा हिँडाउन सकिने एक मात्र विकल्प भएको ओलीको भनाई छ । ओलीले थप भने। ‘विभिन्न नामका समूह खडा गरेर कहिले २४ गतेका विध्वंशकारीलाई पक्रन हुँदैन भन्ने ज्ञापन पत्र बुझाउन लगाएको छ ।

अध्यक्ष ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई समात्नु नै सुशासन हो भन्ने सोचिरहेको टिप्पणी गरेका छन् । ओली र लेखकलाई गिरफ्तार गरेर थुन्नुलाई नै अहिलेको सरकारले सुशासन ठानिरहेको उनको भनाइ छ । त्यसका लागि जेनजीलाई संगठित गर्ने, उनीहरूको मागपत्र लेखिदिने, मागपत्र पढाउने, उनीहरूको हातमा मागपत्र दिने जेनजीलाई बोलाएर दबाब दिए भन्ने भ्रम फैल्याउने काममा लागेको उनले बताए ।

वर्तमान सरकारले कलाविहीन नाटक मञ्चन गरिरहेको उनको टिप्पणी छ । उनले भने, ‘जेनजीहरूको मागपत्र हेरेको थिएँ, मागपत्र कसले ड्राफ्ट गरेको मलाई थाहा छ । कहाँ पढाइएको जेनजीलाई थाहा छ, को अर्गनाइजर भएरहेको छ त्यो पनि थाहा छ । जे होस् एउटा तमासा भयो । हामीले बिना पैसा यो असंवैधानिक सरकारको तमासा हेर्न पाएका छौं । नाटकमा अलिकति कला हुनुपर्छ । कलाविहीन नाटक छ, त्यो हेरिरहेका छौं ।’

 

दाङमा व्यावसायिक मौरीपालन किसानको सङ्ख्या पाँच सय बढी

घोराही (दाङ) । जिल्लामा व्यावसायिक रूपमा मौरीपालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । यहाँको हावापानी राम्रो भएकाले यसमा आबद्ध हुने किसानको सङ्ख्या बढ्दै गएको हो ।

घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका श्रीधन घर्ती मौरीको स्याहारमा व्यस्त रहेका छन् । उनले यो काम गर्न थालेका १७ वर्ष पुगिसक्यो । उनले भने, “ सात वर्ष वैदेशिक रोजगारमा गएर फर्केपछि मौरीपालन व्यवसाय गर्न थालेको हुँ । यसमा घरपरिवारको पनि साथ र सहयोग छ ।” उमेरले ५८ वर्ष पुगेका घर्तीले घोराही उपमहानगरपालिका–१३ स्थित डुम्बरगाउँमा व्यावसायिक रूपमा मौरीपालन व्यवसाय गर्दै ओएका छन् ।

अहिले घर्तीको मौरीफार्ममा एक सय ५० मौरीसहितका घार छन् । उनले यस व्यवसायबाट राम्रो आम्दानी पनि गर्दै आएका छन् । उनले वर्षमा सात टन मह उत्पादन गर्दै आएको बताँउछन् । “परिवारको पनि सहयोग छ, आफैँले मौरीपालनका लागि केही ज्ञान लिएपछि व्यावसायिक रूपमा मौरीपालनमा लागेको हुँ, अहिले उत्पादन भएको मह बिक्रीका लागि बजार पुग्न पर्दैन, धेरै जसोले घरबाटै लग्ने गरेका छन्”, किसान घर्तीले भने, “वैदेशिक रोजगारबाट फर्किएपछि यहीँ व्यवसाय सुरु गरेको हुँ, धेरै लगानी पनि नलाग्ने र आम्दानी पनि राम्रो लिन सकिन्छ, आगामी दिनमा पनि मौरीपालन व्यवसायलाई निरन्तरता दिँदै जाने सोच छ ।”

मौरीपालन व्यवसायबाट वार्षिक रु १६ लाखको कारोबार गरिरहेका घर्तीले रु सात लाख बचत गर्ने गरेको बताएका छन् । एक किलोलाई रु पाँच सयका दरले बिक्री गर्दै आएको उनले बताएका छन् । उनी जस्तै उमेरले ६० वर्ष पुगेका दीपकुमार मगरको दैनिकी पनि विगत दुई दशकदेखि मौरीपालन र मौरीको हेरचाहमै बित्ने गरेको छ । जसबाट आम्दानी पनि राम्रो हुँदै गएको उनी बताँउछन् । जिल्लाको घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुर निवासी मगर विगत २६ वर्षदेखि यही व्यवसायमै रहेका छन् ।

मौरीले राम्रै आम्दानी दिँदै आएकाले मौरीपालन व्यवसायमा उत्साह बढ्दै गएको मगरले बताए । मैले व्यावसायिक रूपमा मौरीपालन गर्न थालेको २६ वर्ष भयो । लामो समय भइसक्यो मौरीपालन गर्न थालेको आम्दानी पनि राम्रो भइरहको छ । यसमा घरपरिवारको पनि सहयोग छ ।

उनले मौरीपालन पूर्वाधार सामग्री उत्पादनमार्फत पनि व्यवसायका लागि आवश्यक सामग्री उत्पादन गरी छिमेकी जिल्ला रोल्पा, सल्यान, प्युठानलगायतका जिल्लामा समेत आधुनिक प्रकारका सामग्री पठाउने गर्दछन् ।

मगरको मौरी फार्ममा दुई सय घार क्षमताको भए पनि हाल भने एक सय मौरीसहितका घार छन् । उनले वर्षमा ३५ क्विन्टल मह उत्पादन हुँदै आएको बताएका छन् । वर्षाको समय र अत्यधिक चिसो हुने समयमा ख्याल गर्ने हो भने मौरीपालनबाट राम्रो प्रतिफल लिन सकिने भन्दै उनले मह उत्पादन र घार वृद्धि पनि सँगसँगै बढाउँदै लगेको बताउँछन् । गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने गरेको घर्ती बताँउछन् ।

यस्तै घोराही उपमहानगरपालिका–१८ गिठेपानी निवासी कृष्णबहादुर डाँगी र जानकी डाँगी दम्पतीले मह बिक्री गरेर मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । विगत डेढ दशकदेखि मौरीपालनमा संलग्न डाँगी दम्पतीले घोराही–१८ गिठेपानीमै एक सय पाँच घार बढी माहुरी पालेर वार्षिक रूपमा करिब रु १३ लाखसम्म आम्दानी गर्दै आएका छन् ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार जिल्लामा व्यावसायिक मौरीपालन गर्ने किसानको सङ्ख्या पाँच सय बढी छ ।

मकवानपुरमा मोटरसाइकल खोलामा खस्दा दुई जनाको मृत्यु

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका– १ बुङदलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलका ३९ वर्षीय वीरबहादुर गुरुङ र पूर्वनवलपरासीको कावासेती–१३ घर भई हेटौंडा–२ चौकीटोल डेरागरी बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङ छन्।

बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरसाइकल मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमाना पर्ने बुङ्दल खोलाको पुलबाट करिब ५० मिटर खसेको अवस्थामा पाइएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराका अनुसार आइतबार बिहान करिब सात बजे स्थानीयले खोलामा मोटरसाइकल र अचेत अवस्थाका दुई व्यक्ति देखेपछि प्रहरीलाई खबर गरेको थिए।

स्थानीयको सूचनापछि इलाका प्रहरी कार्यालय चौकीटोलबाट प्रहरी घटनास्थल पुग्दा दुवैजनाको मृत्यु भइसकेको थियो। दुर्घटनास्थलको प्रकृति हेर्दा घटना शनिबार रातिको समयमा भएको अनुमान गरिएको एसपी बोहोराले बताए। दुवै शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको छ। अस्पतालमा शव ल्याइएपछि परिवारजनले पहिचान गरेका थिए।

 

दुर्गा प्रसाईं संरक्षक रहेको ‘नागरिक बचाउ’ पार्टीको तारा अंकित झण्डा, चुनाव चिह्न जोडी पाइला

काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई संरक्षक रहने गरी ‘नागरिक बचाउ दल नेपाल’ दर्ता भएको छ । आइतबार निर्वाचन आयोगमा सभापति माधव खतिवडा (कल्पित) को नेतृत्वमा दल दर्ता भएको हो । कल्पितका अनुसार पार्टीमा अहिले २७ जना केन्द्रीय सदस्य छन् । उनले प्रसाईं संरक्षक रहने बताउँदै दुर्गा प्रसाईंको विचार, लक्ष्य र उद्देश्य प्राप्तिका लागि दल दर्ता भएको बताएका छन् ।

पछि प्रसाईंलाई संरक्षकको रूपमा केन्द्रीय कमिटीबाट अनुमोदन गरिने पनि उनले जानकारी दिए । आफू सभापति भए पनि पार्टीको मुख्य व्यक्ति दुर्गा प्रसाईं नै भएको कल्पितले बताएका छन् । कल्पितसहित पार्टीका सदस्यहरुले आइतबार बिहान निर्वाचन आयोगमा गएर सनाखत गरिसकेका छन् । उनीहरुको नागरिक बचाउ दल नेपालको दर्ता नम्बर ६३० छ ।

मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन घोषणा गरेका प्रसाईंको अभियान समूहलाई सरकारले वार्तामा बोलाएको छ । २७ बुँदे माग राखेका प्रसाईको नागरिक बचाउ महाअभियानले दल दर्ता गरेर निर्वाचनको लागि तयारी पनि सँगसँगै अगाडी बढाएको कल्पितले बताए ।

पार्टीको उपसभापतिमा ईश्वरीप्रसाद भट्टराई र देवीप्रसाद संग्रौला छन् । पार्टीको महामन्त्री प्रेमकुमार थाम्सुहाङ, सहमहामन्त्री विष्णु बोहरा क्षेत्री, कोषाध्यक्ष सुष्मा रेग्मी रिजाल र प्रवक्ता प्रेम थापा मगर छन् । यो पार्टीले माथि सेतो, तल रातो र बीचमा तारा अंकित चारकुने झण्डा प्रस्ताव गरेको छ । चुनाव चिह्न भने मान्छेको जोडी पाइला प्रस्ताव गरिएको छ ।

सभापति खतिवडाले भने, ‘हामी भुइँ मान्छेका पुजारी हौं, त्यसैले भुइँ मान्छेको समृद्धिका लागि जोडी पाइला चुनाव चिह्न रोजेका छौं ।’ नागरिक बचाउ दलको पदाधिकारी र केन्द्रीय समितिमा दुर्गा प्रसाईको नाम छैन । त्यसबारे सोधिएको जिज्ञासा सभापति खतिवडाले भने, ‘महत्वपूर्ण व्यक्तिले पर्दा पछाडि बसेर नै भूमिका खेलिरहेको हुन्छ । त्यसलाई त्यसैगरी बुझ्नु होला ।’

हेर्नुस् नागरिक बचाउ दलको पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि

पर्वत ।  सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा सुन्तलाका बोट धमाधम सुक्न थालेका छन् ।  पछिल्ला केही वर्षयता जलवायु परिवर्तनको असरसँगै तापक्रम वृद्धि र विभिन्न रोगकीराको सङ्क्रमणपछि सुन्तलाका बोट मर्न थालेका हुन् । धान, कोदो, मकैजस्ता मुख्य बाली छाडेर सुन्तला रोपेका यहाँका किसान अहिले वैकल्पिक खेती गर्न थालेका छन् । उनीहरूले सुन्तलाको विकल्पमा केरा, कफी, अम्बा, अदुवा, बेसार र कोदोखेती गर्न थालेका हुन् ।
कुनै समय जिल्लामै सबैभन्दा बढी पाँच सय बोट सुन्तला लगाएर मनग्गे कमाइ गर्ने स्थानीय ७३ वर्षीय टीकाराम जैसी अहिले सुन्तलाखेतीबाट विस्थापित भएका छन्। उनले अहिले मौरीपालन र अदुवा, बेसारखेती गरेका  छन् । सुन्तला बगान अहिले सुकेका बोट र झाडीले भरिएको छ ।
सबै बोट सुकिसकेपछि उनले मोदी गाउँपालिका र कृषि ज्ञान केन्द्रका प्राविधिकलाई समस्या पत्ता लगाइदिन अनुरोध गरेका छन् । काठमाडौँसम्म लगेर परीक्षण गर्दा ‘सिट्रस ग्रिनिङ’ रोगको जोखिम थाहा भएपछि उनले सुन्तलाखेती नै छाड्ेका  छन् ।
सात रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्दै आएकी सोही ठाउँकी डिलकुमारी तिमिल्सिनाले पनि अहिले सुन्तलाका बोट मासेर केरा, कोदो र अदुवाखेती लगाएको बताएका छन् । घरअगाडिको बगैँचाका सुन्तलाका सबै बोट मरेपछि अहिले सुन्तलाका दाउरा बनाइएको छ । लामो समयदेखि सुन्तलाको व्यावसायिक खेती गर्दै आएका किसान विस्थापित बन्दै गइरहेको स्थानीय दाताराम चापागाईँले जानकारी दिएका छन् ।
विगत केही वर्षअघिसम्म वार्षिक रु पाँच करोडभन्दा बढीको सुन्तला बिक्री हुने यो गाउँमा अहिले मुस्किलले रु दुई करोडसम्म भित्रिने चापागाईँको अनुमान छ । लाखौँ लगानी गरेर सुन्तलाखेती गरिरहेका किसान चिन्तित बनेका उनले बताएका छन् ।
मोदी गाउँपालिकाको कृषि शाखा प्रमुख स्मृति तिमिल्सिनाले देउपुरको सुन्तला बगैँचामा अब अम्लीय जातका फलफूलको उत्पादन हुन नसक्ने बताएकी छिन्। ‘क्यान्डीडट्स लिबेरीब्याक्टर एसिअटिकस’ नामक ‘ब्याक्टेरिया’ले त्यहाँका बगैँचा सखाप पारिदिएको भन्दै उनले उक्त बगैँचामा वैकल्पिक खेती गर्नुको विकल्प नरहेको उनले बताँउछिन्।
 पातहरूमा पहेँलो र हरियो भाग मिसिएको रङ देखिँदै फल सानो, बाङ्गो, स्वादमा गुणस्तर घट्दै जाने र बीउ असमान बन्दै जान थालेको भन्दै तिमिल्सिनाले क्रमशः कमजोर हुँदै गएर रुख मर्ने नै यसको समस्या रहेको बताएकी हुन् । सङ्क्रमित रुख तुरुन्त उखेल्ने र नष्ट गरेर त्यहाँको हावापानीअनुसारको खेती गर्नु नै उत्तम विकल्प हुने उनको सुझाव छ । कृषि शाखा प्रमुख तिमिल्सिनाले त्यो ठाउँमा अम्लीय जातका फलफूलको विकल्पका रूपमा केरा, कफी, कोदो, अदुवा, अम्बा, बेसारलगायतका खेती गर्न सकिने सुझाव दिएकी छिन् । यहाँका झण्डै एक सय ५० परिवार व्यावसायिक सुन्तलाखेती गर्दै आएका थिए । सुन्तलाखेतीमा समस्या आएपछि किसानको आकर्षण घट्दै गएको स्थानीय भूमिराज शर्माले बताएका छन् ।

भोलिदेखि सुरु हुँदै एनपीएल, उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण भोलि (मंसिर १०) देखि सुरु हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार अपराह्न ४ बजे सुरु हुने उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज भिड्दै छन् ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् । लिगका ९ खेल दिउँसो र २३ खेल डे–नाइटमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुने जनाइएको छ ।

एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स, चितवन राइनोज, काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिष्पर्धा गर्दैछन् । यसैबीच नेपाल क्रिकेट संघ (क्यान) ले टिकट नपाएका दर्शकलाई रंगशालामा भीड नगर्न तथा घरमै बसेर खेल हेर्न आग्रह गरेको छ । क्यानका सचिव पारस खड्काले सामाजिक सञ्जालमार्फत् भिडियो सन्देश जारी गर्दै उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेकाले टिकट नभएको अवस्थामा रङ्गशालामा जाँदा सुरक्षामा समस्या र हुलदंगा हुन सक्ने भएकाले अनुशासित रहन आग्रह गरेका छन् ।

उनले घरमै बसेर एनपीएललाई समर्थन गर्न दर्शकलाई अपिल गर्दै, प्रतियोगिताले विश्वको ध्यान नेपाली क्रिकेटमा तानिरहेको अवस्थामा सबैले जिम्मेवारीपूर्ण व्यवहार गर्नुपर्ने बताएका छन् । क्यानका अनुसार उद्घाटन खेलका लागि करिब ८ हजार टिकट सर्वसाधारणलाई बिक्री गरिएको छ । त्यस्तै, करिब २ हजार टिकट खेलाडीका परिवार, प्रायोजक तथा आयोजकका लागि छुट्याइएको छ भने करिब ३ हजार सिट पदाधिकारी, खेल अधिकारी र विशेष पाहुनाका लागि राखिएको छ ।

उद्घाटन खेलका लागि साधारणसँगै प्रिमियर टिकट सबै बिक्री भइसकेको क्यानका महासचिव खड्काले जनाएका छन् । त्यसैले टिकट नपाएका खेलप्रेमीलाई घरमै बसेर खेल हेर्न उनले आग्रह गरेका छन् । प्रतियोगितामा विश्वकपसहितका उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित विदेशी तथा स्वदेशी खेलाडी विभिन्न टिमबाट खेल्दै छन् । हरेक टिममा न्यूनतम चारदेखि अधिकतम ६ जनासम्म विदेशी खेलाडी छन् । स्वदेश तथा विदेशमा रहेका नेपाली क्रिकेटप्रेमीले एनपीएलको व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन् ।

‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए : बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी

म्याग्दी । यहाँ उत्पादन हुने कोदोको परिकारको विविधिकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ । कोदोको परिकार ढिडो, रोटी र खोलेमा मात्र सीमित नभएर अब बिस्कुट पनि बन्न थालेको छ । माग, उपभोग र खपत बढ्न थालेपछि कोदोखेती गर्ने किसान उत्साहित भएका छन् ।

अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरको अन्नपूर्ण बेकरी हाउसका सञ्चालक कृष्ण खड्काले उपभोक्ताबाट माग आउन थालेपछि कोदोको बिस्कुट उत्पादन गर्न थालेका छन् । “पहिलेपहिले कोदोखेती गर्ने र यसका परिकार उपभोग गर्नेलाई गरिब भनेर हेप्ने चलन थियो”, उनले भने, “स्वस्थकर र पोषिलो कोदोको महत्व बुझेपछि माग आउन थालेपछि मैले पनि बिस्कुट बनाएर बेच्न थालेको छु ।”

यसअघि धवलागिरि गाउँपालिका–७ ताकममा धवलागिरि बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारीले कोदाको पीठो प्रशोधन गरी बिस्कुट उत्पादन गरेर बिक्री गर्दै आएका छन् ।

रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा रहेको टोड्के हिल रिसोर्टले पनि पाहुनालाई चखाउन र बजारमा बिक्री गर्न कोदोको बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना गरेको छ । उद्यमी खड्काले गाउँबाट काम विशेषले बजारमा बसाइँसराइ गरेका, विदेशमा रहेका र भ्रमणमा आउने पाहुनाले कोदोको पीठो र बिस्कुट किनेर लैजाने गरेको बताएका छन् ।

कोदोको बिस्कुटको माग ग्रामीण क्षेत्रको तुलनामा बजारबाट बढी आउने गरेको व्यवसायी खड्काले बताएका छन् । भुटेको कोदोको पीठोमा चिनी, मह, उखुको खुदो मिसाएर बिस्कुट बनाउने गरिएको छ । प्रतिदर्जन (१२ वटा)कोदोको बिस्कुट रु ६० का दरले बिक्री हुने गरेको छ ।

पर्यटकीय जिल्ला मुस्ताङ र अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थलको भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिकाको केन्द्र पोखरबेगरमा स्थानीय उत्पादनको कोसेलीघर सञ्चालन र कोदोको बिस्कुटका साथै पाउरोटी बनाउने तयारी गरेको उद्यमी खड्काले बताए ।

कोसेलीघर स्थापना र कोदोको बिस्कुट बनाउन आवश्यक पर्ने ‘ओभन’ गर्न कृषि ज्ञान केन्द्रले गत आर्थिक वर्षमा रु दुई लाख अनुदान सहयोग गरेको थियो । केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले परम्परागत बाली संरक्षण र प्रवर्द्धन कार्यक्रममार्फत कोदोलगायत खाद्य, दलहन बालीको खेती विस्तार, प्रशोधन, प्याकेजिङ र बजारीकरणमा सहयोग गर्ने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको बताएका छन्।

चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि म्याग्दीमा प्रदेश सरकारबाट रु १५ लाख बजेट विनियोजन भएको छ । कार्यक्रममार्फत उद्यमी तथा किसानले परियोजनाको कुल लागतको ५० प्रतिशत अनुदान पाउनेछन् । केन्द्रका अनुसार म्याग्दीको दुई हजार ७५० हेक्टर क्षेत्रमा वार्षिक तीन हजार ३०० मेट्रिक टन कोदो उत्पादन हुन्छ । समुद्री सतहदेखि तीन हजार १०० मिटर उचाइको भूगोलसम्म कोदोखेती गर्न सकिन्छ ।

क्याल्सियम, फस्फोरस र आइरन प्रशस्त मात्रामा पाइने कोदोलाई बालबालिकादेखि ज्येष्ठ नागरिकका लागि उत्तम खानाका रूपमा लिइन्छ । गर्भवतीहरूका लागि पनि कोदो पोषिलो खाना हो । मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, दम, रुघाखोकी, शरीर दुख्ने र झाडापखलाका रोगीका लागि कोदो अति राम्रो मानिने केन्द्रका प्रमुख बाँस्तोलाले बताएका छन् ।

कोदोको उपभोगले रगतमा बोसो र कोलस्टेरोलको मात्रा घटाउँछ । नेपालमा नसर्ने रोगबाट ग्रसित हुनेको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थामा कोदोको परिकार उपभोगका लागि माग बढेको ताकमका उद्यमी अनिल भण्डारीले बताए । खेती घटेर संरक्षण गर्नुपर्ने अवस्थामा पुगेको कोदोको परिकारलाई विविधकरण र बजारीकरण गर्दा किसानलाई फाइदा पुग्ने र आयात घटाउन सहयोग पुग्ने उनको भनाइ छ ।

घुन्सा र फलेटारमा स्याउ फल्यो स् व्यावसायिक खेतीको नयाँ सम्भावना उजागार

फुङ्लिङ (ताप्लेजुङ) । यहाँको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल भएको छ । स्थानीय किसान र विभिन्न संस्थाहरूले परीक्षणका रूपमा रोपेका स्याउ बिरुवाले फल दिँदा उत्साह बढेको छ ।

विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा आधार शिविर प्रवेशद्वारमा अवस्थित फले र घुन्सामा इटालीबाट ल्याइएका बिरुवा रोपिएको थियो । रोपेको छ महिनामै स्याउ फल्न थालेपछि स्थानीय आशावादी बनेका छन् । हिमाली भूभागमा स्याउखेतीको यो सफल प्रयासले ताप्लेजुङमात्र होइन, सम्पूर्ण पूर्वी हिमाली क्षेत्रका किसानका लागि व्यावसायिक स्याउखेतीको नयाँ सम्भावना देखाएको छ ।

फलेटार र ग्याप्ला क्षेत्रमा विगतदेखि नै स्याउखेती हुँदै आएको भए पनि घुन्सामा पहिलोपटक परीक्षण गरिएको हो । मनाङ एग्रो फार्मको समन्वयमा इटालीबाट ल्याइएका ‘फुजी’ र ‘गोल्डेन डेलिसियस’ प्रजातिका स्याउका बिरुवा रोपिएको थियो । पुतली सहयोग योजना, स्वीट्जरल्याण्डको टोली र स्थानीय समुदायको साझेदारी तथा पुतली सहयोग आयोजनाको सहकार्यमा दिगो पर्यावरणीय कृषि प्रणाली कार्यक्रमअन्तर्गत फलेटार र घुन्सामा दुईदुई रोपनी क्षेत्रफलमा नमूना स्याउ बगैँचा विस्तार गरिएको छ । पुतली सहयोग योजनाका जिल्ला संयोजक दावाछिरिङ शेर्पाका अनुसार परियोजनाको उद्देश्य स्याउ उत्पादनसँगै अन्य कृषि उपजमार्फत किसानलाई आर्थिक रूपमा सशक्त बनाउनु रहेको छ ।

घुन्साका स्थानीय नुपुडुण्डुक शेर्पा अहिले आफ्नै स्याउ बगैँचा विस्तार गर्ने योजनामा छन् । उनले भने, “हामीले घुन्सामा र फलेमा रोपिएको स्याउ खायौँ । मीठो स्वादको स्याउ फल्यो । अब घुन्सा क्षेत्रमा स्याउखेती गर्ने योजनामा छौँ ।” घुन्सामा उत्पादन भएको स्याउ सफल परीक्षण भएसँगै थप आम्दानीको स्रोत बढ्ने भन्दै स्थानीयवासी उत्साहित भएको शेर्पाले बताएका छन् ।

घुन्सास्थित नमूना बगैँचामा ६० जापानिज फुजी (पोथी), १० गोल्डेन डेलिसियस(भाले) र १० काला(भाले)प्रजातिका स्याउका बिरुवा रहेको छ । बगैँचामा जैविक विविधता कायम गर्न घार मौरी र कुखुरापालन गरिएको छ, यसले स्याउका फूलमा परागसेचनमा सहयोग पुर्याउने र माटो उर्वर बनाउने काम गरेको छ ।

स्याउखेतीको सम्भाव्यता अध्ययनका लागि चार वर्षअघि फलेटार र घुन्साको माटो स्वीट्जरल्याण्डमा परीक्षण गरिएको थियो । त्यसैगरी, फले र घुन्सामा उत्पादित स्याउको गुणस्तर परीक्षण पनि सफल भएको छ । स्वीट्जरल्याण्डबाट आएका स्याउ विशेषज्ञ टोलीले स्वाद, दाना र चिनीको मात्रा परीक्षण गर्दा सकारात्मक नतिजा प्राप्त भएको हो ।

पुतली सहयोग आयोजनाका कार्यक्रम संयोजक शेर्पाका अनुसार घुन्सामा उत्पादित स्याउ प्रजातिमध्ये फुजीमा १३ ब्रिक्स, गालामा १३.५ ब्रिक्स र गोल्डेनमा १७ ब्रिक्स चिनीको मात्रा पाइएको छ । यस्तै फलेमा उत्पादन भएका स्याउमध्ये फुजीमा १२ ब्रिक्स, गालामा १३.५ ब्रिक्स र गोल्डेनमा १५ ब्रिक्स मापन गरिएको छ ।

घुन्सा र फले क्षेत्रमा अहिले विदेशी सहयोगमा स्याउ बगैँचा सञ्चालन भइरहेको ।त्यहाँ उत्पादन भएको स्याउको गुणस्तर सफल परीक्षण भएसँगै किसानलाई स्याउ बगैँचा विस्तार गर्न सहयोग गर्ने पुतली सहयोग आयोजनाका जिल्ला कार्यक्रम संयोजक शेर्पाले बताएका छन् । उनका अनुसार गत साता स्वीट्जरल्याण्डबाट आएका स्याउ विशेषज्ञ टोली घुन्सा पुगेर केही स्याउखेती गर्न चाहने किसानका जग्गा नापजाँचसमेत गरिएको शेर्पाले बताएका छन् ।

दलको संख्या १२२ मा झर्‍यो : चुनाव घोषणापछि सात दल थपिए, सात वटा खारेज

काठमाडौं । देशमा संघीय निर्वाचनको माहोल तात्दै गर्दा निर्वाचन आयोगमा राजनीतिक दलहरूको दर्ता–खारेजी प्रक्रियामा ठूलो हलचल भए पनि कुल संख्या भने १२२ मै स्थिर बनेको छैन । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित पाँच दल एकीकृत भएर नयाँ दल– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दर्ता भएपछि ती पाँचै दल खारेज भएका छन् । यससहित यो अवधिमा जम्मा सात दल खारेज भए—एक अदालतको आदेशमा तथा ६ दल आफ्नै पदाधिकारीको निवेदनमा ।

यतिबेला आयोगले सात नयाँ दललाई दर्ता प्रमाणपत्र दिँदै कुल संख्या फेरि १२२ कायम गरेको छ । अन्तरिम सरकारले निर्वाचन घोषणा गर्दा पनि यति नै संख्या थियो, आज पनि यही छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, खारेज भएका जति दल थपिएका कारण दर्ता दलको संख्या स्थिर छ । यसबीच, नेपाल परिवर्तन पार्टी दर्ताको अन्तिम चरणमा पुगेको र आयोगले निर्णय गरेपछि प्रमाणपत्र दिने तयारी भएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

त्यस्तै राष्ट्रिय जेनजी पार्टीका प्रतिनिधि किरण विकले दिएको दर्ता निवेदन भने फिर्ता लिइसकेको आयोगले बताएको छ । हाल आयोगमा दर्ताको प्रक्रियामा रहेका दलको संख्या २८ छ । कोही कागजात रुजुमा छन्, कोही सनाखतको चरणमा । सनाखत र कागजात दुरुस्त भएपछि मात्रै दर्ताको अन्तिम निर्णय हुने आयोगको भनाइ छ । आयोगले अहिले प्रक्रियामा रहेका दल जेनजी समूहका हुन् वा अन्य को हुन् भन्ने छुट्टै वर्गीकरण भने गरेको छैन ।

 

‘खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि पुस्तौँदेखिको समस्या अन्त्य भएको छ’

भोजपुर । ज्यानको जोखिम मोलेर काठको फड्केबाट खकुवाखोला तर्दै आएका यहाँका स्थानीयलाई झोलुङ्गे पुल बनेपछि सहजता भएको छ । षडानन्द नगरपालिका–७ र ११ लाई जोडने यो खोलामा ८० मिटर लामो पुल निर्माण भएपछि स्थानीयको वर्षौँको समस्या अन्त्य भएको हो ।

बर्खाको समयमा खोला ठूलो हुँदा तर्न नसकेर कतिपय समयमा खेतमा नै बास बस्नुपर्ने अवस्थामा पुल निर्माणले राहत मिलेको स्थानीयवासी चतुरमाया मगरले बताएकी छिन् । विगतमा खेत आउँदा उर्लिँदो भेल तरेर जानुपर्ने समस्या रहेको उनको भनाइ छ । अब भने जोखिम मोलेर काठको फड्केबाट खोला तर्नुपर्ने अवस्थाको अन्त्य भएको उनले बताए ।

“खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि हाम्रो पुस्तौँदेखिको समस्या अन्त्य भएको छ”, उनले भने, “दैनिकजसो खेतीमा आउँदा यो खोला तर्नुपथ्र्यो । खोलापारि जान काठको फड्के थियो । त्यो फड्के पनि ठूलो खोला हुँदा बगाउथ्यो, पुल बनेपछि सहज छ ।”

यो खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयको दैनिकी सहज बनेको स्थानीयवासी दीपबहादुर मगरले बताएका छन् । मुख्य रूपमा बर्खाको समयमा आवतजावतमा धेरै समस्या हुने गरेको उनको भनाइ छ । “पुल बनेपछि हामीलाई सहज भएको छ”, उनले भने, “यो पुलले दुईवटा वडाका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ ।”

यहाँ रु ४८ लाख १२ हजार ८२५ लागतमा पुल निर्माण सम्पन्न भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष मनिकुमार तामाङले बताएका छन् । स्थानीयको समस्यालाई ध्यानमा राखेर खकुवाखोलामा झोलुङ्गे पुल निर्माण गरिएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए। नगरपालिका क्षेत्रमा आवश्यक पर्ने अन्य झोलुङ्गे पुलको तथ्याङ्क लिएर निर्माणको कामलाई योजनाबद्ध रूपमा अघि बढाएको उनले जानकारी दिए।

नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा हुने

काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशन काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ। पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन र बन्द सत्र हुनेछ। मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन चल्नेछ।

एमाले महाधिवेशनमा करिब २५ सय  जना सहभागी रहनेछन्। अध्यक्ष पदमा अहिलेका अध्यक्ष केपी शर्मा ओली फेरि उम्मेदवार हुने र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि अध्यक्षमा उम्मेदवार हुने तयारीमा छन्।

शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण

दोधारा चाँदनी। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ । निकुञ्जको ढक्का, तारापुर र लल्लरे डाँडामा करिब ३७४ दशमलव ४२ हेक्टर क्षेत्रफल अतिक्रमण भएको हो ।

साथै नेपाल–भारत सिमाना पिल्लर नं २८ क्षेत्रमा करिब १३९ दशमलव ८९ हेक्टर निकुञ्ज क्षेत्र अतिक्रमणमा परेको निकुञ्ज कार्यालयले जनाएको छ ।

अतिक्रमित क्षेत्रमा तत्कालीन शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापितहरू बसिरहेका छन् । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले ढक्कामा ६०४, तारापुरमा १५५ र लल्लेरीमा १३ परिवारले अतिक्रमण गरेर बसिरहेको जानकारी दिए ।

उनका अनुसार नेपाल–भारत सिमाना पिल्लर नं २८ क्षेत्रमा भारतीय नागरिकले करिब १३९ दशमलव ८९ हेक्टर निकुञ्जको क्षेत्र अतिक्रमण गरेर खेती गर्दै आएका छन् ।

सूचना अधिकारी वाग्लेले निकुञ्जको मध्यवर्ती क्षेत्र (कोर एरिया)मा मानवबस्ती बसेकाले वन्यजन्तुको बासस्थानमा असर पुग्ने बताए । ‘कोर एरियामा निकुञ्जबाट विस्थापित भएकाहरू बस्दै आएका छन्, यसले वन्यजन्तुको बासस्थानमा समस्या हुन्छ’, उनले भने, ‘यहाँ बस्नेहरूले पनि न्यूनतम सेवासुवधा पाउन सक्दैनन् । सोहीकारणले कोर एरियामा बस्ती हुँदा दुवै पक्षलाई असर परेको छ ।’

निकुञ्जबाट विस्थापितको समस्या समाधान हुन नसक्दा निकुञ्जको कोर एरिया अतिक्रमणमा परेको वाग्लेको भनाइ छ । हालसम्म ३३ वटा आयोग बने पनि आरक्ष विस्थापितको समस्या समाधान हुन नसकेको उनले बताए ।

नेपाल–भारत सिमानाको पिल्लर नं २८ र २७ बीचको निकुञ्ज क्षेत्रमासमेत अतिक्रमण भएको छ । सिमानामा मुख्य पिल्लरको बीचमा सबपिल्लर नभएकाले उक्त क्षेत्र विवादित बनेको सूचना अधिकारी वाग्लेले उल्लेख गरे ।

‘उक्त क्षेत्रमा भारतीय नागरिकले खेतीपाती गर्दै आएका छन्, त्यो क्षेत्रमा हाम्रो पनि दाबी छ’, उनले भने, ‘गत जेठमा पिल्लर नं २८ नजिक नेपाली सेना र निकुञ्ज कार्यालयले संयुक्त रूपमा पोष्ट स्थापना गरेका छौँ ।’ भारतीय पक्षले अतिक्रमण गरेर खेतीपाती गरिरहेका क्षेत्रमा सेनाले पोष्ट स्थापना गरेर गस्ती सुरु गरेको उनले जानकारी दिए ।

सूचना अधिकारी वाग्लेका अनुसार अहिले निकुञ्जको सुरक्षामा राष्ट्रिय निकुञ्जका विभिन्न स्थानमा नेपाली सेना र राष्ट्रिय निकुञ्ज कार्यालयका १५ वटा संयुक्त सुरक्षा पोष्ट छन् भने सेनाका छुट्टै तीन वटा पोष्टबाट सेना खटिएका छन् ।

विसं २०५८ मा तत्कालीन शुक्लाफाँटा आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) को पूर्वी क्षेत्र विस्तार गर्ने क्रममा विस्थापित भएकाहरू निकुञ्जको विभिन्न स्थानमा अतिक्रमण गरेर बसेकाले मानव–वन्यजन्तु द्वन्द्वसमेत बढ्दै गएको छ ।

यहाँ एक दशकमा जङ्गली हात्तीको आक्रमणबाट तीन महिला र १४ पुरुष गरी १७ जनाको मृत्यु भएको निकुञ्ज कार्यालयले जनाएको छ ।

क्षतिको विवरण उपलब्ध गराउन सङ्घीय मामिला मन्त्रालयको आग्रह

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सबै गाउँपालिका र नगरपालिकालाई आग्रह गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सात सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरी क्षतिको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । मन्त्रालयले यही कात्तिक २७ गते एक पत्रमार्फत आन्दोलनका क्रममा भएको क्षतिको विवरण अनलाइन पोर्टलमा प्रष्टि गर्न पत्राचार गरिएको उल्लेख गरेको छ ।

मन्त्रालयले क्षतिको विवरण अनलाइन पोर्टलमा प्रविष्ट गर्नेसम्बन्धी आवश्यक जानकारी गराउन भनिएको छ । पुनः निर्माणलगायतका कामका लागि विवरण उपलब्ध गराउन भनिएको मन्त्रालयले स्पष्ट पारेको छ । सरकारले आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन तथा पुनः निर्माण योजना तयारीका लागि गत असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकले पाँच सदस्यीय समिति गठन गरेको थियो ।

तथ्याङ्क सङ्कलनमा एकरुपता र सहजताका लागि समितिले अनलाइन पोर्टल तयार गरी सम्बन्धित स्थानीय तहले स्थानीय तह अन्तर्गतका कार्यालय, स्थानीय तह भित्रका विवरण गर्न भनिएको हो । क्षतिको तथ्याङ्क प्रविष्ट गर्न छुट भएको भए मन्त्रालयले तयार पारेको पोर्टलमा विवरण उपलब्ध गराउन र अपलोड गर्न अनुरोध गरिएको छ ।

दृष्टिविहीन महिला टी–ट्वान्टी विश्वकप : अमेरिकालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । अमेरिकालाई १० विकेटले हराउँदै नेपाल दृष्टिविहीन महिला टी–ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा अमेरिकाले दिएको १८ रनको लक्ष्य नेपालले ४ बलमै कुनै पनि विकेट नगुमाइ पूरा गर्‍यो । नेपालका लागि दिलसरा धमलाले अविजित १२ रन बनाइन् । त्यसअघि, टस जितेर ब्याटिङको निम्तो पाएको अमेरिका ९.४ ओभरमा १७ रनमै समेटिएको थियो । अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि दिलसरा धमलाले ३ र सुनिता घिमिरेले १ विकेट लिए । दृष्टिविहिन क्रिकेटमा यो हालसम्मको सबैभन्दा कम रन थियो । यसअघि सन् २००६ मा वेस्ट इन्डिजले पाकिस्तानविरुद्ध बनाएको २१ रन दुष्टिविहिन क्रिकेटमा सबैभन्दा कम योगफल थियो । तेस्रो जितसँगै नेपालले चार खेलबाट ६ अंक जोडेको छ । यसअघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ९ विकेटले हराएको थियो र अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको नेपालले भारतसँग ८५ रनले पराजि भएको थियो ।

कुखुरापालनबाट मासिक एक लाख आम्दानी

तनहुँ । व्यास नगरपालिका–१ रतौलीका अर्जुनबहादुर बस्नेतले कुखुरापालन गरेर मासिक रु एक लाख आम्दानी गर्दै आएका छन् । सत्र वर्षसम्म दुबईमा रोजगारी गरेका बस्नेत स्वदेश फर्किएर व्यावसायिक रूपमा कुखुरापालनमा लागेका हुन् । विदेशमा रहँदा कोरोनाको समयमा बुबाको निधन भएको नौ महिनापछि घर फर्किएका बस्नेत त्यसपछि विदेश नगई स्वदेशमै केही गरौँ भन्दै पाँच वर्षदेखि कुखुरापालन गर्दै आएका छन्।

विदेशमा गरेको आम्दानीभन्दा स्वदेशमा बसेर दोब्बर कमाई गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न बस्नेत सफल भएका छन् । उनले सञ्चालन गर्दै आएको ‘बस्नेत ब्रोइलर पोल्ट्री एण्ड एग फार्म’मा हाल दुई हजार कुखुरा छन् । सुरुआतमा रु ३० लाख लगानीमा छ रोपनी क्षेत्रफलमा दुई आधुनिक ट्रष्ट निर्माण गरी व्यावसायिक रूपमा कुखुरापालन व्यवसाय सुरु गरेका बस्नेतले मनग्य आम्दानी गर्दै आएका छन् । दैनिक एक हजार आठ सय अण्डा उत्पादन हुने यो फार्मबाट महिनामा रु पाँच लाख बढीको कारोबार हुने गरेको छ ।

दाना, औषधि तथा श्रम खर्च कटाएर रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको बस्नेतले बताँउछन् । उनले भने, “दुबईमा महिनामा रु ६० हजार आउँथ्यो, अहिले गाउँमै परिवारका साथमा बसेर विदेशको भन्दा दोब्बर फाइदा भइरहेको छ ।”

कुखुरा व्यवसायबाट उत्पादन हुने ठूला दाना (क्रेड) स्थानीय बजारमा प्रतिथान रु पाँच सयमा बिक्री हुँदै आएको छ । जोखिमयुक्त मानिने कुखुरापालनमा किसानलाई टिकाइराख्न सरकारले दाना उत्पादनमा अनुदान दिनुपर्ने बस्नेत बताँउछन् ।

“पूर्वाधारमा मात्र अनुदान दिएर हुँदैन । दाना खरिद गर्न सहयोग भयो भने किसान यो व्यवसायमा टिकाउँछन्, राज्यको लगानी पनि सुरक्षित हुन्छ”, उनको तर्क छ । बस्नेतका अनुसार कुखुरापालन सुरु गरेपछि वर्षौँदेखि बाँझो रहेको जमिनको सदुपयोगमात्र नभई खेतीपातीमै पनि उल्लेख्य सुधार आएको छ ।

श्रीमती मधुमायाको निरन्तर साथमा फार्म चलाएका बस्नेत भन्छन्, “कुखुराको मल प्रयोग गरेदेखि तोरी राम्रो फलेको छ, तेल किन्नुपरेको छैन, तरकारी पनि बजारबाट ल्याउनुपरेको छैन ।”

व्यास नगरपालिकाले इनार निर्माणका लागि रु २५ हजार र कुखुरा खरिदका लागि रु ५० हजार सहयोग गरेको व्यास–१ का वडासदस्य मणिजङ्ग बस्नेत बताँउछन्। चितवनबाट चल्ला ल्याएर सुरु गरिएको यो व्यवसाय अहिले गाउँमै रोजगारी, आम्दानी र आत्मनिर्भरता अभिवृद्धिको उदाहरण बनेको छ । दुबईबाट फर्किएर ‘सामान्य किसान’का रूपमा थालेको यात्रा आज बस्नेतलाई सफल व्यावसायिक किसानका रूपमा उभ्याइरहेको स्थानीय सूर्य कार्की क्षत्रीले बताए ।

हुलाकी सडक पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक पूर्वपश्चिम राजमार्गको सहज वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको छ ।

हुलाकी सडकअन्तर्गत राप्तीसोनारी गाउँपालिका–६ कुण्डाचोकदेखि अगैयासम्म जोड्ने हुलाकी सडकमा सवारीसाधनको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । विशेषगरी नेपालगञ्जबाट दाङतर्फ आवतजावत गर्ने यात्रुले अहिले यसै मार्गलाई प्राथमिकता दिन थालेका छन् ।

नेपालगञ्जबाट कोहलपुर हुँदै पूर्वपश्चिम राजमार्गमा अगैया पुग्ने भन्दा हुलाकी सडकको दूरी छोटो पर्ने भएकाले यात्रुले यो सडक प्रयोग गर्ने क्रम बढेको भेरी बस व्यवसायी सङ्घका नेपालगञ्जका अध्यक्ष जुनबहादुर थापाले बताएका छन् । उनका अनुसार कोहलपुरबाट अगैया पुग्न बाँके राष्ट्रिय निकुञ्जको टाइम कार्ड पालना गर्नुपर्ने भएकाले पनि हुलाकी राजमार्गमा सवारी आवागमनको चाप बढ्दै गएको हो । हुलाकी सडक निर्माण भएपछि बाँकेको राप्तीपारिका बिनौना र बैजापुरवासीलाई आवागमनमा सहज भएको छ ।

हुलाकी सडकअन्तर्गत बाँकेको फत्तेपुरदेखि बैजापुरसम्मको सडक कालोपत्र भएपछि राप्तीसोनारी गाउँपालिकाका बासिन्दालाई सदरमुकाम नेपालगञ्ज आवतजावत सहज भएको राप्तीसोनारी–५ बिनौनास्थित भुवरभवानी माविका प्रधानाध्यापक चेतबहादुर विष्टले बताँउछन् । यो सडक निर्माण भएपछि राप्तीसोनारी–१, २, ३, ४, ५ र ६ का बासिन्दालाई नेपालगञ्ज पुग्न सहज भएको उनको भनाइ छ । फत्तेपुर, बिनौना र बैजापुरवासीलाई गाउँपालिकाको केन्द्र अगैया पुग्न पनि सहज भएको छ ।

सडक कालोपत्रसँगै बीचमा पुल र कल्भर्ट निर्माणसमेत भएको छ । सडक निर्माण भएपछि गाउँपालिका कार्यालय आवातजावत गर्न धेरै सहज भएको राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारूले बताँउछन् । हुलाकी सडक बनेसँगै अहिले पूर्वपश्चिम राजमार्गको वैकल्पिक सडकका रूपमा सर्वसाधारणले यो सडक प्रयोग गर्न थालेका छन् । अगैयाबाट बैजापुर, बिनौना, फत्तेपुर हुँदै सोझै नेपालगञ्ज आउन सकिने भएकाले यो सडक छोटो पर्ने वडाध्यक्ष थारूको भनाइ छ ।

हुलाकी सडकअन्तर्गत राप्ती नदीको सिधनियाघाटमा फराकिलो पक्की पुल निर्माण हुँदैछ । पुल निर्माणसँगै नदीले कटान तथा डुबान गरेको सडकलाई व्यवस्थित गरेपछि सवारी आवागमनमा थप सहज हुने भएको छ । साँघुरो पुल भएका कारण हाल सवारीसाधन पालो कुरेर नदी पार गर्नुपर्ने बाध्यता छ । निर्माणाधीन पुल ११ मिटर चौडाइको भएकाले पुलमा सवारीसाधन सहजै वारपार गर्न सकिने छ ।

सिधनियाघाटमा पक्की पुल निर्माणकार्य धमाधम भइरहेको छ । पुल निर्माणमा ५० प्रतिशतभन्दा बढी प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिएका छन्। हुलाकी सडक पछिल्लो समय नेपालगञ्जबाट दाङ हुँदै पूर्वतर्फ जानका लागि वैकल्पिक मार्गका रुपमा प्रयोग भइरहेकाले फराकिलो पुल बनेपछि थप सहज हुने उनको भनाइ छ ।

ललितपुर महानगरपालिकाका नगरप्रहरी बलको श्रव्य दृश्य सामाग्री प्रदर्शनी

ललितपुर । ललितपुर महानगरपालिकाका नगरप्रहरी बलले यस वर्षभरी महानगर भित्र गरेका विभिन्न सामाजिक कार्यहरुको श्रव्य दृश्य सामाग्री प्रदर्शनी गरेको छ ।

ललितपुरमा आज आयोजना गरेको एक कार्यक्रमकाबीच नगरप्रमुख चिरीबाबु महर्जन, लगायत अन्य नगरपालिकाका मेयरहरुको उपस्थितिमा शुभारम्भ गरिएको हो ।

प्रमुख महर्जनले ललितपुर नगरप्रहारी बलले राम्रो काम सम्पादन गरेको र भावी दिनमा पनि नागरिक सुरक्षा र सम्पूर्ण नगरको विकास र समृद्धि नगरप्रहरीले काम गर्दै जानु पनि उनले बताए ।

बिहान नगरपालिकाले सेवा प्रवाहको सन्दर्भमा महानगर प्रहरी बलबाट भए गरेका कार्यहरुको नगरबासीको सेवामा महानगर प्रहरी नामक श्रव्य दृश्य सामाग्री प्रदर्शनी गरेको हो ।

२९ खर्ब नाघ्यो विदेशी विनियम सञ्चिति, मूल्यवृद्धि १.४७ प्रतिशतमा सीमित

काठमाडौं । आयातमा सामान्य वृद्धि भए पनि रेमिट्यान्समा उच्च वृद्धि हुँदा विदेशी विनियम सञ्चिति ३ महिनामै एक खर्ब ७१ अर्ब डलर (३ खर्ब २ अर्ब रुपैयाँ) ले बढेको छ । असोज मसान्तमा नेपालको कुल विदेशी विनियम सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड रुपैयाँ (१९ अर्ब ५० करोड डलर) पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ (१९ अर्ब ५० करोड डलर) रहेको विदेशी विनियम सञ्चिति ३ महिनामा ११.३ प्रतिशतले बढेको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ असोज मसान्तमा १०.५ प्रतिशतले वृद्धि भई २६ खर्ब ६७ अर्ब ७० करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ असोज मसान्तमा १८.७ प्रतिशतले वृद्धि भई ३ खर्ब १२ अर्ब १० करोड कायम भएको छ । २०८२ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत छ ।

चालु आर्थिक वर्षका ३ महिनामा नै रेमिट्यान्स साढे ५ खर्बभन्दा माथि पुगेको छ । असोजमा २ खर्बभन्दा धेरै रेमिट्यान्स आएको छ । जसले गर्दा विदेशी विनिमय सञ्चित लगातार बढ्दै गएको छ । जसले गर्दा सञ्चिति पर्याप्तता सुचक पनि बढेको छ । केही सुधार देखिन लागेको आर्थिक गतिविधिमा जेन–जी आन्दोलनपछि पुन सुस्तता देखिएको छ । जसले गर्दा आयात पनि अपेक्षित रुपमा बढ्न सकेको छैन । तर, रेमिट्यान्समा उच्च वृद्धि हुँदा विदेशी विनिमय सञ्चितसँगै सञ्चिति पर्याप्तता सुचक पनि लगातार बढेको छ ।

आर्थिक वर्ष २०८२/८३ को तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.९ महिनाको वस्तु आयात र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहन्छ । २०८२ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ४८.८ प्रतिशत, १३६.६ प्रतिशत र ३६.८ प्रतिशत रहेका छन् ।

मूल्यवृद्धि १.४७ प्रतिशतमा सीमित
चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशतमा सिमित भएको देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार खासगरी खाद्य तथा पेय पदार्थको समूहको मूल्यवृद्धि २.५४ प्रतिशतले ऋणात्मक देखिएको छ । गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि भने ३.८० प्रतिशतले भएको देखिन्छ । कम मुद्रास्फीतिले सुस्त अर्थतन्त्रको संकेत गर्छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य समुहको मुद्रास्फीति ७.२० प्रतिशत र गैरखाद्यको ३.४९ प्रतिशत भएको देखिएको छ ।

आर्थिक वर्षको पहिलो त्रैमासको औसतः मुद्रास्फीति १.६७ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिको औसतः मुद्रास्फीति ४.२६ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यु तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ७.७५ प्रतिशतले बढेको छ । गैर मदिराजन्य पेय पदार्थको ३.७१ प्रतिशत र माछा तथा मासुको ३.१५ प्रतिशतले बढेको छ । तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.६३ प्रतिशतले घटेको देखिन्छ । मरमसलाको ७.८२ र दाल तथा गेडागुडीको मूल्य ४.४१ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.५१ प्रतिशत, शिक्षाको ७.६७ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ६.२९ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.८४ प्रतिशतले बढेको छ । फर्निसिङ तथा घरासयी उपकरणको ४.५५ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक ०.२३ प्रतिशतले घटेको छ । यस अवधिमा ग्रामीण भेगमा १.२९ प्रतिशत र शहरी क्षेत्रमा १.५३ प्रतिशतको मात्र मूल्यवृद्धि भएको देखिन्छ । प्रदेशगत रूपमा हेर्दा कोशीको २.३३ प्रतिशत, मधेशको १.२०, बागमतीको १.१३, गण्डकीको १.१६, लुम्बिनीको १.८९, कर्णालीको १.९१ र सुदूरपश्चिमको ०.६९ प्रतिशत मात्र मुद्रास्फीति देखिएको छ । काठमाडौं उपत्यकाको १.४३, तराईको १.२९, पहाडको १.५० र हिमालको २.३३ प्रतिशत मुद्रास्फीति रहेको छ ।

चक्रपथ निर्माण अन्तिम चरणमा

मुस्ताङ । घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने १० दशमलव पाँच किमीको चक्रपथ सडक निर्माण अन्तिम चरण पुगेको छ । विसं २०७६ असारमा बन्दना भगवती निर्माण सेवासँग ठेक्का सम्झौता भएको उक्त सडक ६ वर्षको अन्तरालमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको ‘एक निर्वाचन, एक सडक’ योजनाअन्तर्गत मुस्ताङ सदरमुकामदेखि ठिनी, ढुम्बा, छैरो, चिमाङ, मार्फा, स्याङ हुँदै जोमसोम जोड्ने गरी पूर्वाधार विकास कार्यालयले कार्यान्वयनमा ल्याएको थियो । घरपझोङस्थित कालीगण्डकी नदी पारि पूर्वमा रहेका ग्रामीण बस्तीमा सडकको पहुँच स्थापित गर्नेगरी जोमसोम–ढुम्बा पाँच किलोमिटर सडक कालोपत्र र ढुम्बादेखि छैरो–चिमाङ हुँदै मार्फा मुख्य राजमार्ग जोडिने गरी पाँच दशमलव पाँच किमी ग्राभेल सडकको काम अघि बढाइएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इञ्जिनियर घनश्याम रोकामगरले जानकारी दिएका छन्।

निर्माण कम्पनी बन्दना भगवती निर्माण सेवाको चरम ढिलासुस्ती र बेवास्ताका कारण यहाँको थाक पाँचगाउँ जोड्ने घरपझोङ चक्रपथ सडक सम्पन्नमा विलम्ब भइरहेको थियो । सुरुआती ठेक्का सम्झौता अनुसार २०७७ माघमा सकिनुपर्ने भए पनि निर्माण कम्पनीले कोरना माहामारी, प्रतिकूल मौसम र हिमपातलगायत कारण देखाउँदै सातौँ पटकसम्म म्याद थप गरेको थियो ।

यहाँको घरपझोङ–४, ५, १ र २ जोड्ने चक्रपथको लागत रु २४ करोड ४५ लाख ७४ हजार रहेको सूचना अधिकारी रोकामगरले जानकारी दिए । घरपझोङस्थित थाक पाँच गाउँ जोड्ने सडक अन्तिम चरणमा पुगेको र चालु आवभित्रमा सडक कार्यालयलाई हस्तान्तरण गरिने उनले बताएका छन् । सडकको पछिल्लो भौतिक प्रगति ९३ प्रतिशत र वित्तीय प्रगति ८८ प्रतिशत रहेको छ ।

चक्रपथको ६ किलोमिटर नाली निर्माणसहित ढुम्बातालसम्मको पाँच किलोमिटर सडक कालोपत्र भइसकेको छ । त्यसैगरी ढुम्बातालदेखि छैरो–चिमाङसम्मको दूरीमा चट्टान काटेर नयाँ सडक ट्रयाक खोलेर नालीसहित पाँच मिटर चौडा ग्राभेल सडक विस्तार भइसकेको सूचना अधिकारी रोकामगरको भनाइ छ । चक्रपथमा ट्राफिक सङ्केतका पोल गाड्ने, नाली सफा गर्ने र सडकको जोखिमयुक्त स्थानमा सवारी दुर्घटना रोक्न बार लगाउने काम भइरहेको छ । त्यसैगरी चक्रपथ सडकले ठिनी, ढुम्बा, छैरो र चिमाङलगायतका गाउँ सडक सञ्जालले जोडिएकाले त्यहाँका किसानले उत्पादन गरेका स्याउलगायत अन्नबाली, फलफूल र तरकारी यातायातका साधनमार्फत ढुवानी गर्न सजिलो भएको छ ।

दुर्गा प्रसाईको ‘नागरिक बचाउ’ दल दर्ता, सभापतिमा माधव खतिवडा

काठमाडौं । चर्चित मेडिकल व्यवसायी तथा नागरिक अभियानकर्ता दुर्गा प्रसाईं अब औपचारिक रूपमा राजनीतिकमा होमिएका छन् । नागरिक बचाउ दल नेपाल नामक नयाँ राजनीतिक दल आज (आइतबार) निर्वाचन आयोगमा दर्ता भएसँगै प्रसाईंको राजनीतिक यात्रा सुरु भएको छ । दलका सभापति माधवप्रसाद खतिवडा (माधव कल्पित) भए पनि पार्टीको मुख्य चालक भने स्वयं दुर्गा प्रसाईं नै रहेको कल्पितले स्पष्ट पारे । आइतबार बिहानै उनीसहित २७ सदस्यीय टोलीले आयोगमा उपस्थित भएर सनाखत पूरा गरेको छ । दललाई आयोगले दर्ता नम्बर ६३० दिएको छ ।

मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन घोषणा गरिसकेका प्रसाईंलाई सरकारले वार्ता आह्वान गरेको छ । उनकै नेतृत्वमा सञ्चालन हुँदै आएको नागरिक बचाउ महाअभियान अब संगठनात्मक रूपमा दल दर्तासँगै निर्वाचन तयारीमै उन्मुख छ । ‘अभियान र चुनावी तयारी दुबै ट्र्याकमा अघि बढिरहेका छन्’, सभापति खतिवडाले बताएका छन् ।

यस्तो दलको नेतृत्व संरचना छ :
पदाधिकारी
सभापति – माधवप्रसाद खतिवडा
उपसभापति – ईश्वरीप्रसाद भट्टराई
उपसभापति – देवीप्रसाद संग्रौला
महामन्त्री – प्रेमकुमार थाम्सुहाङ
सहमहामन्त्री – विष्णु बोहोरा क्षेत्री
कोषाध्यक्ष – सुष्मा रेग्मी रिजाल
प्रवक्ता – प्रेम थापा मगर

सदस्यहरुमा रामकुमार कार्की, प्रविन लामा, शक्तिराज शाही, दिवाकरमान सिंह बस्नेत, लुजा राई, रेनुकादेवी खरेल, तुलसाकुमारी खत्री, राजेन्द्रबहादुर दमाई, बिजय थापा, तेजेन्द्र रायमाझी, हरदेव महत्तो, बलबहादुर तामाङ, नवराज दुलाल, दानुुमाया थापा, रेणु हमाल शाही, दीनेश पाख्रिन, राजु श्रेष्ठ, पुष्पराज भण्डारी, सुरेन्द्रकुमार कार्की र कमला माया क्षेत्री रहेका छन् । यसबाहेक आयोगमा २७ सदस्यीय केन्द्रीय समिति दर्ता गराइएको छ । आयोगले मंसिर ९ गतेसम्म दल दर्ता प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको जनाएको छ ।

सडक आन्दोलन, २७ बुँदे माग र व्यवस्थाप्रतिको कडा असन्तोष व्यक्त गर्दै आएका प्रसाईं अब औपचारिक राजनीतिक पार्टीसहित आगामी निर्वाचनमा उत्रिने संकेत स्पष्ट छ । नागरिक बचाउ दल दर्तासँगै प्रसाईंको अभियान अब केवल आन्दोलनमै सीमित नबसी संसदीय प्रतिस्पर्धामा रूपान्तरित हुने चरणमा प्रवेश गरेको देखिन्छ ।

ग्लोबल डे अफ एक्शनका अवसरमा जलवायु न्यायको मागसहित नेपालभर आवाज

काठमाडौँ । हरेक वर्ष मनाइने ग्लोबल डे अफ एक्शन का अवसरमा नेपालभरका अग्रपंक्तिमा रहेका समुदाय, युवा, नागरिक समाज संस्था , कार्यकर्ताहरू र सचेत नागरिकहरूले जलवायु न्यायको लागि सशक्त आवाज उठाए।

कप को बीचको साता पर्ने सप्ताहान्तलाई विश्वभर “ग्लोबल डे अफ एक्शन” का रूपमा मनाइने गरिन्छ।

मुस्ताङदेखि सप्तरीसम्मका समुदायहरू आफ्नो पीडा र माग सार्वजनिक गर्न सडकमा उत्रिए। सन् २०२३ को अगस्टमा भीषण बाढी र डिब्रीमा थिचिएको मुस्ताङको कागबेनी समुदाय अझै क्षतिपूर्तिबिना विस्थापित जीवन बिताइरहेका छन्। वर्षा छायाँ क्षेत्र मानिने मुस्ताङमा आएको अनपेक्षित वर्षाले बस्तीमै ठूला मात्रामा डिब्री बगाएर पुर्‍याएको थियो। उनीहरूले कम्युनिटी एक्सेस टु लस एण्ड ड्यामेज फन्ड तथा जलवायु पीडितका लागि न्यायको माग दोहोर्‍याएका छन्।

यस्तै, सन् २०२१ को अक्टोबरमा परेको लगातार भारी वर्षाले तराईका सयौँ किसानको बाली बगाएको थियो। अन्न काट्न तयार पाखाभरीको धान नष्ट भएको तीन वर्ष बितिसक्दा पनि धेरै खेत आजसमेत बालुवाको तहले ढाकिएको छ। यसले जलवायु विपद्को दीर्घकालीन प्रभाव अझै समाप्त नभएको स्पष्ट पार्छ।

समुदायहरूसँग एकता जनाउँदै काठमाडौँ र बिराटनगरका युवाहरूले समेत नोक्सानी तथा क्षति कोष शीघ्र सञ्चालन गर्न तथा समुदायलाई प्रत्यक्ष पहुँच सुनिश्चित गर्न माग गरे। उनीहरूले जलवायु समाधानको नाममा ठूला निगमहरू र विश्व उत्तरी देशहरूले अघि बढाइरहेका “भ्रान्त समाधानहरू”लाई पनि खारेज गर्दै वास्तविक न्याय केन्द्रित प्रणाली परिवर्तनको आवश्यकता जोड दिए।

यही सन्देश सहित, कप ३० का क्रममा ब्राजिलको बेलेम तथा विश्वका विभिन्न शहरहरूमा पनि सामूहिक आन्दोलन जारी रहनेछ। ग्लोबल डे अफ एक्शन विश्वभरका जनताको न्याय, समानता र मुक्तिका लागि भइरहेको साझा संघर्षको प्रतीक बनेको छ।

कोलेनिकाको सेवा अब नयाँ भवनबाट

मनाङ । मनाङ सदरमुकाम चामेस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले अब आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह थालेको छ । स्थापनाकालदेखि हालसम्म भाडाको भवनमार्फत सेवा प्रवाह गर्दै आएको सो कार्यालयले आधुनिक तथा सुविधासम्पन्न भवन निर्माण गरेको हो ।

नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले नयाँ भवनबाट सेवा प्रवाहको प्रारम्भ गरेका छन्। उनले नयाँ भवनले सेवा प्रवाहलाई अझ छरितो, सहज र पारदर्शी बनाउने विश्वास व्यक्त गर्दै वित्तीय सुशासन कायम राख्नँका निम्ति सम्पूर्णमा आह्वान गरेका छन् । उनले मनाङको समग्र आर्थिक व्यवस्थापन सुदृढीकरण र विकासका क्षेत्रमा नेपाल सरकार निरन्तर साथमा रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । महालेखा नियन्त्रक पौडेलले भवन निर्माण समयमै सम्पन्न गरेकामा कोलेनिका र निर्माण कम्पनी दुवैलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले नयाँ भवनबाट सेवा प्रवाहले कार्यालयका कर्मचारीमा नयाँ उत्साह, आत्मविश्वास र जिम्मेवारीको भावना थप्ने बताए । उनले कोलेनिका मनाङलाई उच्च मनोबलका साथ पारदर्शी र प्रभावकारी सेवामा समर्पित रहेर जिल्ला प्रशासन कार्यालयले आगामी दिनमा सबै सरकारी कार्यालय आफ्नै भवनबाट प्रवाह गर्न सहयोग तथा समन्वय जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले वर्तमान परिवेशमा कर्मचारीमा नवीन सोच, सृजनशीलता, व्यावसायिकता र प्रतिस्पर्धी क्षमताको आवश्यकता रहेको उल्लेख गर्दै जनसेवामा पूर्ण समर्पित रहन निर्देशन दिएका छन् ।

कोष नियन्त्रक सुवास अधिकारीले नयाँ प्रशासकीय भवनबाट सेवा प्रवाह गर्दा वित्तीय सुशासन कायम गरी छिटो, छरितो र प्रभावकारी सेवा प्रवाहमा सहज भएको बताएका छन् । उनले तालुक निकायको निर्देशन र सेवाग्राहीका अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले र सहमहालेखा नियन्त्रक दीपक लामिछानेले नयाँ भवनको प्रयोगले सेवाको गुणस्तर र पहुँचमा थप सुधार आउने बताएका छन् ।

रेमिट्यान्स आप्रवाह ३५.४ प्रतिशतले बढेर ५५३ अर्ब भित्रियो

काठमाडौं । रेमिट्यान्स आप्रवाह ३५ प्रतिशत बढीले बढेको छ । चालू आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा ५ खर्ब ५३ अर्ब ३१ करोड रेमिट्यान्स नेपाल भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो । त्यसबेला २ खर्ब १ अर्ब २२ करोड रेमिट्यान्स भित्रिएको थियो ।

यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो । चालू आवको तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १० हजार ६५४ र ५९ हजार ९३९ रहेको थियो ।

चालू खाता र भुक्तानी सन्तुलन दुवै दुई खर्ब बढीले बचतमा
तीन महिनामा सरकारको चालू खाता दुई खर्ब ३७ अर्ब ५९ करोडले बचतमा देखिएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब १५ अर्ब ३६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ६९ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ५ अर्ब ५५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब रहेको थियो ।

यस्तै समीक्षा अवधिमा १ अर्ब ७४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ४ अर्ब ८१ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर (भुक्तानी सन्तुलन) २ खर्ब ६४ अर्ब ३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत अमेरिकी डलरमा १ अर्ब ३८ करोड रहेकोमा समीक्षा अवधिमा १ अर्ब ८८ करोड रहेको छ ।

 

 

 

बालबालिकामा कुपोषण दर उच्च

दोधारा चाँदनी (कञ्चनपुर) । भीमदत्त नगरपालिका–१८ जानकी टोलका पूजा शाही १३ महिनाको छोरालाई खोप लगाउन महाकाली प्रादेशिक अस्पताल पुगिन् । शिशुलाई अस्पतालका स्वास्थ्यकर्मीले दुब्लो र ख्याउटे देखेपछि तौल जाँच गर्न लगाए । तौल जाँच गराउँदा उनको तौल ६ किलो ४०० ग्राममात्र थियो ।

उमेर अनुसार शिशुको तौल ११ किलो हुनुपथ्र्यो । तर उनको तौल उमेर अनुसार नभएपछि स्वास्थ्यकर्मीले महाकाली प्रादेशिक अस्पतालको पोषण पुनःस्थापना कक्षमा भर्ना हुन लगाए । अस्पताल पुगेपछि पूजाले शिशुलाई कुपोषण भएको थाहा पाएकी हुन् ।

अहिले उनी दुई साता अघिदेखि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको पोषण पुनःस्थापना गृहमा छोराको उपचार गराइरहेकी छिन् । “यहाँ भर्ना भएको १० दिन भएको छ, १० दिनमा मेरो शिशुको सात सय ग्राम तौल बढेको छ”, पूजाले भनीन्, “घरमा र यहाँ खाना खुवाउने तरिका धेरै फरक पाएँ ।” उनले पुनःस्थापना गृहमा दिनमा चारपटक पोषणयुक्त खाना खुवाइने गरेको बताएकी छिन् ।

भीमदत्त नगरपालिका बागबाणीकी गीता सेवाको समस्या पनि उस्तै छ । अस्पतालमा खोप लगाउन आएका बेला शिशुको तौल जाँच गराउँदा उमेरअनुसार तौल नपुगेपछि उनी पनि अस्पतालको पोषण पुनःस्थापना गृहमा भर्ना भएको बताउँछीन् । “घरमा हामीले खानेकुरा एक दुईपटक शिशुलाई खुवाउँथ्यौँ”, उनले भनीन्, “यहाँ दैनिक चारपटक फरकफरक पोषणयुक्त खानेकुरा आमा र शिशु दुवैलाई खुवाँउछन् ।”

भीमदत्त नगरपालिका–३ की विस्ना बोहरा पनि एक वर्षीया शिशुलाई पोषण पुनःस्थापना गृहमा भर्ना गराएका छन्। पछिल्लो समय शहरी क्षेत्रकै बालबालिकामा कुपोषण देखिन थालेको छ । ग्रामीण क्षेत्रका बालबालिकामा पनि कुपोषणदर उच्च रहे पनि पोषण पुनःस्थापना गृहमा पुग्न नसकेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

महाकाली प्रादेशिक अस्पतालको पोषण पुनःस्थापना गृहमा चालु आर्थिक वर्षमा ३२ शिशु भर्ना भएका छन् । अस्पतालका अनुसार पुनःस्थापना गृहमा पाँच वर्षमुनिका आमा र बच्चाका लागि निःशुल्क उपचार हुँदै आएको छ ।

विसं २०६३ मा सञ्चालनमा आएको पोषण पुनःस्थापना गृह १० शय्या(बेड) क्षमताको छ । पोषण पुनःस्थापना गृहका प्रमुख इन्द्रा भट्टले यहाँ भर्ना भएका बालबालिका निको भएर जाने दर बढेको बताएकी छिन्।

“तीन वर्षको तथ्याङ्क हेर्दा यहाँ भर्ना हुने बालबालिकाको सङ्ख्या कम भएको देखिन्छ”, उनले भनिन् “अहिले सहरी क्षेत्रकै बालबालिका बढी आएको देखिन्छ, अहिले समुदायमै कडा कुपोषणका बालबालिका कम भएका हुन् कि समुदायमै छुटेका छन् यो खोज्नुपर्ने विषय बनेको छ ।”

विगतको तुलनामा समुदायस्तरमा जतचेतानाका कार्यक्रम कम भएपछि यहाँ भर्ना हुन आउनेको सङ्ख्या पनि कम भएको उनको भनाइ छ । महिला काममै व्यस्त हुने र बालबालिकालाई समयमा खानासमेत खुवाउन नसक्ने हुँदा कुपोषित हुने गरेको उनी बताउँछिन् । तर जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क हेर्ने हो भने जिल्लामा कडा कुपोषणका बालबालिका धेरै छन् ।

कार्यालयको तथ्याङ्क अनुसार आव २०७९-८० मा तीन सय ७५ बालिका र दुई सय ८१ बालकमा कडा कुपोषण देखिएको थियो भने चार सय ६५ बालिका र चार सय ४५ बालकमा मध्यम कुपोषण देखिएको थियो । आव २०८०-८१ मा छ महिनादेखि ५९ महिनासम्मका चार सय ४४ बालिका र तीन सय ९३ बालकमा कडा कुपोषण देखिएको थियो भने ८२ जना बालिका र ६१ बालकमा मध्यम कुपोषण देखिएको थियो ।

त्यसैगरी, ६ महिनाभन्दा कमका २४ बालबालिकामा कुपोषण देखिएको थियो । आव २०८१-८२ मा ६ महिनादेखि ५९ महिनासम्मका तीन सय ६३ बालिका र दुई सय ४६ बालकमा कडा कुपोषण देखिएको थियो । अठार बालिका र २६ बालकमा मध्यम खालको कुपोषण देखिएको थियो भने छ महिनाभन्दा कमका सात बालिका र २४ बालकमा पनि कुपोषण देखिएको थियो ।

चालु आवमा हालसम्म ६ देखि ५९ महिनाका ९५ बालिका र ९६ बालकमा कडा कुपोषण देखिएको छ । उनान्सठ्ठी बालिकामा र ३६ बालकमा मध्यम खालको कुपोषण देखिएको छ । त्यसैगरी छ महिनाभन्दा कमका नौ बालकमा कुपोषण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताएका छन् ।

“यसको निदानका लागि राज्य गम्भीर भएर लागेको छ”, डा लेखकले भन्छन्, “तथ्याङ्कमा कुपोषण घट्दो क्रममा रहे पनि बाल मृत्युदर घटाउने चुनौती छ ।”

पछिल्लो समय रोजगारीलगायतका काममा व्यस्त हुँदा पूर्ण रूपमा स्तनपान गराउने आमाको सङ्ख्या पनि घट्दै गएकाले बालबालिकामा कडा कुपोषण देखिने गरेको स्वास्थ्यकर्मी बताउँछन् । आमाको दूधमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पोषण हुने भएकाले छ महिनासम्म पूर्ण स्तनपान गराउनुपर्छ । आमाको दूधमा विभिन्न सङ्क्रमणविरुद्ध लड्ने प्रतिरोधात्मक तत्व पाइने भएकाले पूर्ण स्तनपान नहुँदा कुपोषणजस्ता समस्या देखिने गर्दछन् ।

सिंगापुरबाट फर्केलगतै देउवा कांग्रेसभित्रको ‘किचलो’ मिलाउन सक्रिय

काठमाडौँ । सिंगापुरको १८ दिन लामो बसाइपछि स्वदेश फर्केका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्र महिनौंदेखि उब्जिएको महाधिवेशन विवाद ‘अनौपचारिक’ रूपमा समाधान गर्न सक्रिय बनेका छन् । उपचारबाट फर्केको भोलिपल्टैदेखि उनले पार्टी नेताहरूसँग भेटघाट र छलफलको गति बढाएका छन्, जसले कांग्रेसको आन्तरिक शक्ति–समीकरण फेरि तातिएको छ ।

स्वास्थ्य उपचारमा रहेका बेला उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए पनि हाल देखिएको द्वन्द्व ‘साम्य पार्ने’ जिम्मा देउवा स्वयंमले सम्हालेको स्रोतहरू बताउँछन् । शनिबार बिहानै खड्काले एक महिने केन्द्रीय समिति बैठकका विवादबारे रिपोर्टिङ गरेपछि देउवाले पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउदलगायतलाई छलफलका लागि बोलाए ।

स्रोतका अनुसार देउवाको स्पष्ट सन्देश थियो, ‘जति सकिन्छ, मिलेर अघि बढौं ।’ यही लाइन लिएर कार्यवाहक सभापति खड्का पनि शनिबारै ललितपुरस्थित हिमालय होटलमा इतर धारका नेताहरूसँग संवाद गर्न पुगे । तर त्यो बैठक ‘बालुवामा पानी’ सावित भयो–कुनै समझदारीको टुंगो लागेन । कांग्रेसभित्र अहिले मूल द्वन्द्व महाधिवेशनको मितिमा छ । स्थापन पक्ष (देउवा समूह) चुनाव पछि महाधिवेशन गर्नुपर्नेमा अडिग छ । इतर समूह डा. शेखर कोइराला, तथा महामन्त्रीद्वय गगन थापा–विश्वप्रकाश शर्मा– चुनाव अगाडि महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।

यही मतभेदका कारण असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकै ‘अनिर्णय’ को मोडमा अड्किएको छ । स्थिति झनै जटिल यस कारण छ कि संस्थापन पक्षकै २४ केन्द्रीय सदस्यले पनि चुनावअघि महाधिवेशन गर्नुपर्ने मागसहित कार्यवाहक सभापति खड्कालाई ज्ञापन बुझाइसकेका छन् । यसैले स्थापन पक्षभित्रै दुई धार देखिन थालेको हो ।

शनिबार साँझ देउवाले संस्थापन पक्षका प्रकाशशरण महत, एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई भाडाको निवास चुनदेवीमा बोलाएर दुई घण्टा बढी छलफल गरे । भेटबारे महतले भनेका छन्, ‘उहाँले चुनावको तयारी महत्वपूर्ण छ भन्नु भयो । विवाद तपाईंहरूले मिलाउनुस् भन्ने जोड थियो ।’ उनका अनुसार देउवाहरू चुनावपछि महाधिवेशन गर्ने पक्षतिर झुकिरहेको स्पष्ट देखियो ।

अब देउवाले आइतबार सात जना पूर्व पदाधिकारी—विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला र प्रवक्ता महतसँग छुट्टै भेटघाटको तयारी गरेका छन् । तर यिनीहरूमध्ये केहीले ‘भेट हुने निश्चित भए पनि समय नतोकिएको जानकारी दिएका छन् । एकातिर उपचारबाट फर्किएको भोलिपल्टै देउवाको सक्रियता कांग्रेसभित्र ‘पार्टी अध्यक्ष अब फेरि ठोस रूपमा खेलमा फर्किए’ भन्ने संकेतका रूपमा हेरिएको छ । अर्कोतिर महाधिवेशन कहिले गर्ने भन्ने विवाद झनै ‘तातेको’ छ—संस्थापन पक्षभित्रै एकमत नदेखिनु त्यसको ठूलो सूचक हो ।

 

जेनजी आन्दोलनकारीले दमकल समेत छोडेनन्, अपाङ्गता भएकाहरु बोक्ने बस पनि जलाए : चिरिबाबु महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नगरपालिकाको काम नगरवासीलाई संरक्षण गर्ने र दिनचर्या झनै राम्रो बनाउने रहेको बताएका छन् । आइतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ललितपुर महानगरपालिकाको सबैभन्दा महत्वपूर्ण काम नगरवासीलाई कसरी संरक्षण गर्ने, कसरी उहाँहरुको दिनचर्या राम्रो पार्ने र कसरी उहाँहरुको इन्कम जेनेरेशनमा कसरी टेवा पुर्‍याउने ? भन्ने रहेको बताए । जेनजी आन्दोलनका क्रममा ललितपुर महानगरपालिकाले दमकलको सेवा ललितपुर नगर क्षेत्रमा मात्रै नभइ काठमाडौं महानगरपालिकामा समेत दिएको बताए । सिंहदरबार, सर्वोच्च अदालत लगायतका स्थानहरुमा ७९ पटक दमकलको सेवा दिएको उनको भनाइ छ ।

उनले भने, ‘ललितपुर महानगरपालिकाले सबैभन्दा महत्वपूर्ण काम भनेको नगरवासीलाई कसरी संरक्षण गर्ने, कसरी उहाँहरुको दिनचर्या राम्रो पार्ने र कसरी उहाँहरुको इन्कम जेनेरेशनमा हामीले कसरी टेवा पुर्‍याउने ? भन्ने नै हाम्रो काम हो । आजको विषयवस्तु नगरवासीको सुरक्षामा कसरी बढी केन्द्रित हुने भन्ने हो ।’

उनले भने, ‘अस्ती जेनजी आन्दोलन भयो । त्यसमा हाम्रो नगर प्रहरीसँग रेगुलर कन्ट्याक्टमा बसेँ । कुनै पनि ठाउँमा आगजनी हुनासाथ जानुपर्छ जाने भनेँ । त्यो बेलामा ललितपुर महानगरपालिकाको दमकलको सेवा ललितपुर नगर क्षेत्रमा होइन, काठमाडौंको हिल्टन होटल, सिंहदरबार, सर्वोच्च, पाल्र्यामेण्ट बिल्डिङ्ग लगायतमा ७९ पटक दमकलको सेवा प्रवाह गरेका छौँ । हाम्रो दमकलमा फमको व्यवस्था छ । जाना साथ पानीले हान्ने होइन, फम हान्छ । हाम्रो दमकलबाट देखिने गरी आगो निभेको हुन्छ ।’

उनले मन्त्रीक्वार्टर जलेर फोन आएपछि दमकल पठाएको तर आन्दोलनमा सहभागी भएकाहरुले बाधा सिर्जन गरेको बताए । प्रमुख महर्जनले नगरवासीका लागि गर्नुपर्ने आवश्यक कामहरु आफूहरुले क्रमशः पूरा गरिरहेको बताए । आगो निभाउन गएको दमकललाई समेत आन्दोलनकारीले आगो लगाएको बताए । उनले अब अत्याधुनिक दुई वटा दमकल खरिद गर्ने निर्णय समेत गरेको बताए । अपाङ्गता भएका व्यक्तिहरुका लागि खरिद गरेको गाडीमा समेत आगजनी भएकाले अब झनै अत्याधुनिक गाडी किन्ने बताए ।

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौँ । लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल घटेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययन अनुसार आर्थिक वर्ष २०८१÷८२ मा गत वर्षको तुलनामा खाद्य तथा बालीले ढाकेको क्षेत्रफल एक दशमलव ४२ प्रतिशतले घटेर सात लाख ६८ हजार ९६८ हेक्टर कायम भएको छ ।

समीक्षा वर्षमा यस प्रदेशमा खाद्य तथा अन्य बालीको उत्पादन गत वर्षको तुलनामा तीन दशमलव ४३ प्रतिशतले वृद्धि भई ३३ लाख ८० हजार ३२७ मेट्रिक टन भएको छ । समीक्षा वर्षमा दूध, मासु, अण्डा र माछाको उत्पादन गत वर्षको तुलनामा क्रमशः दुई दशमलव ८८ प्रतिशत, तीन दशमलव शून्य तीन प्रतिशत, तीन दशमलव ११ प्रतिशत र १३ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा वनजन्य उत्पादनतर्पm काठ उत्पादन गत वर्षको तुलनामा दुई दशमलव ३४ प्रतिशतले वृद्धि भएको छ ।

केन्द्रीय बैंकका अनुसार कृषि क्षेत्रमा प्रवाहित कर्जा तीन दशमलव ४६ प्रतिशतले घटेको छ भने कुल प्रवाहित कृषि कर्जामा रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै ४३ दशमलव ८० प्रतिशत र रुकुमपूर्व जिल्लाको हिस्सा सबैभन्दा कम शून्य दशमलव ४० प्रतिशतमात्र रहेको छ ।

लुम्बिनी प्रदेशका उद्योगको औसत क्षमता उपयोग ५० दशमलव ६० प्रतिशत रहेको छ । नमूना छनोटमा परेका उद्योगमध्ये रोजिन उत्पादन गर्ने उद्योगले सबैभन्दा बढी ८८ दशमलव ६९ प्रतिशत र सबैभन्दा कम ड्राइ सिरप उत्पादन गर्ने उद्योगले आठ दशमलव ६४ प्रतिशत क्षमता उपयोग गरेका छन् ।

त्यस्तै, समीक्षा वर्षमा औद्योगिक उत्पादनतर्पm सबैभन्दा बढी सिन्थेटिक कपडाको उत्पादन एक सय ७० दशमलव ७७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा ६ दशमलव ९३ प्रतिशतले वृद्धि भएको छ । औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगहरूमा ४३ दशमलव ६३ प्रतिशत र सबैभन्दा कम विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा एक प्रतिशतमात्र रहेको छ ।

सेवा क्षेत्रअन्तर्गत नमूना छनोटमा परेका पर्यटकस्तरीय होटलमध्ये १० वटाबाट प्राप्त तथ्याङ्कबमोजिम होटल शय्या सङ्ख्या ३४ दशमलव २० प्रतिशत, शय्या बिक्री सङ्ख्या ४५ दशमलव ७४ प्रतिशत र पर्यटक आगमन सङ्ख्यामा ६१ दशमलव ७८ ले घटेको छ । यस्तै, घरजग्गा रजिष्ट्रेशन सङ्ख्यामा ४२ दशमलव ८२ प्रतिशतले वृद्धि भएको छ । घरजग्गा रजिष्ट्रेशनबापतको राजस्व रकम गत वर्षको तुलनामा पाँच दशमलव ४५ प्रतिशतले ह्रास भएको छ ।

केन्द्र्रीय बैंकका अनुसार २०८२ असार मसान्तसम्ममा सो प्रदेशका बैंक तथा वित्तीय संस्थाले गरेको निक्षेप परिचालन २०८१ असार मसान्तको तुलनामा १५ दशमलव ४३ प्रतिशत र कुल कर्जा प्रवाह दुई दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा छनोटमा परेका बचत तथा ऋण सहकारी संस्थाको कुल पुँजी दुई दशमलव ४४ प्रतिशतले ह्रास भएको छ भने बचत परिचालन ६ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ । उक्त संस्थाबाट गरिएको कर्जा प्रवाह दुई दशमलव ५० प्रतिशतले वृद्धि भएको छ ।