`

लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु

फुङ्लिङ (ताप्लेजुङ) । नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न यहाँका लिम्बू समुदायहरुले चासोक तङनाम पर्व मनाउन सुरु गरेका छन् लिम्बू समुदायका विभिन्न संस्थाहरुले समय अनकुल मिलाएर मङ्सिर अन्तिम सातासम्म चासोक चङनामको अवसारमा कार्यक्रम गर्ने गर्दछ ।

किसानहरूले अन्नबाली घर भित्रयाएसँगै धिसोक चासोक (पाकेका अन्नबाट पहिले न्वागी) कुल देवतालाई चढाउने कार्यलाई लिम्बू समुदायहरुले चासोक भन्ने गर्दछ । लिम्बू जातीले खेतीपाती गरेको अन्नबाली घर भित्रयाएपछि अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कूलदेवतालाई चढाउने परम्परा रहीआएको छ । किराँत समुदायले अन्नबाली मङ्सिर पूर्णीमा अगाडि नै घर भित्रयाइसकेको हुन्छ ।
सप्रेका (ठूला–ठूला कोदो बाला) धानको बाला टिपेर चोखो पारी जाँड बनाउने गर्दछन् । लिम्बू समुदायका बिजुवा (पूजारी) घर बोलाएर कूलदेवतालाई चढाउने गर्दछन् । वर्षमा पाकेको कोदोलाई जाँड बनाएर देवतालाई न्वागी चढाउनुलाई लिम्बू समुदायमा थिसोक भनिन्छ । अन्नको भात पकाएर चढाउनुलाई चासोक भनिन्छ ।

याक्थुङचुम्लुङका जिल्ला अध्यक्ष हाङमाया लेक्षर्बोका अनुसार प्रत्येक घरमा एक वर्ष पहिला पाकेको अन्न कुलदेवतालाई चढाएर मात्र आफूलाई अन्नको उपभोग गर्ने गर्दछ । लिम्बू समुदाय आफ्नै मौलिक संस्कृति र संस्कार रहेको यो जातिले विभिन्न पेसा र जीवनशैली अपनाउँदै आएका छन् । कृषिमा आधारित जीवनशैली अपनाउने यो जाति प्रकृति पूजकका रुपमा पनि रहेका छन् । लिम्बू समुदायका चाडपर्व कृषिमा आधारित छन् । ऋतु परिवर्तन सँगसँगै खेतीपाती र जीवनयापनमा पर्ने असर र फेरबदलमा लिम्बू चाडपर्वका अर्थ जोडिएको लेछर्बोले बताँउछन् ।

लिम्बू समुदायले महान् चाडको रूपमा मान्दै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी)पूजा उद्यौली याममा बालीनाली भित्रयाउने बेलामा सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको फलाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङनाम भनेको पर्व (चाड) हो ।

काराँत याक्थुङचुम्लुङ ताप्लेजुङ शाखाका सचिव सरोज कङ्लिवा लिम्बूका अनुसार लिम्बू समुदायका ग्रन्थ मुन्धुममा चासोक पूजाको उत्पत्तिका सम्बन्धमा सविस्तार वर्णन पाइन्छ । किराँत याक्थुङ चुम्लुङले २०५९ सालमा प्रकाशित गरेको किराँत चाड एक परिचय पुस्तक अनुसार कृषियुग सुरु हुनुअघि लिम्बूहरूका आदिम पुर्खा ९सावा येत्हाङ०ले कन्दमूल काँचै खाएर जीवनयापन गर्थे । उनीहरू कुपोषण र अनेक रोगब्याधिको शिकार बन्न भए । यी समस्या समाधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिङवाभु माङ (कूलदेवता)सँग प्राथना गरेका छन् ।

यही प्राथनाले गर्दा नै उनीहरूले पेना-माङदःक(कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैँया), तुम्री (जुनेलो) आदि बीउबिजन तागेरानिवाभु माङले उपलब्ध गराई दिए । यसरी धान र अन्नका बीउबिजन पाएपछि लिम्बू जातिको आदिम पूर्खा सावायेहाङका चेली सिबेरा एःक्थुम्माले काठको खन्ती, अङ्कुसे आदिको प्रयोग गरी भस्मे फाँडेर(घोरीया) बीउबिजन रोपी छरी अन्न फलाउन सुरु गरे ।

यसरी छरपोख गरी उब्जाएर खानुभन्दा अगाडि माङहरू(देवीदेवता)लाई चढाउने प्रचलन बसाले । मनुष्यलाई खेतीपाती सिकाउने देवीका रूपमा येत्हाङका चेला सिबेरा एःक्थुक्मा सिबोरा याभुङगेम्मा हुन् भनी लिम्बू जातिले मान्दछन् । यी नै कथनअनुसार माङ (देवता)लाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहि आएको कङ्लिवा लिम्बूले बताएका छन् । आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाइ खाएमा बौलाउने, रगत छदाउने, कुञ्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने (अन्धो बनाउने), कान दुखाउने (बहिरा बनाउने)जस्ता भयावह रोगव्याधिले दुःख पाइने लिम्बू जातिमा विश्वास रहिआएको छ ।

पहिला घर–घरमा चासोक थिसोक (न्वागी) पूजा गरी रमाउने लिम्बूहरूले हाल आएर सामूहिकरूपमा यसलाई महान् उत्सवका रूपमा मान्न थालेको पाइन्छ । यो पर्वमा खुसीयाली साटासाट गर्ने तथा वर्षभरि भेट नभएका आफन्तजन तथा साथीभाइसँग भेटघाटको अवसरका रूपमा लिने गरेका लिम्बू समुदायको भनाइ छ ।

चासोक तङ्नामको अवसरमा ताप्लेजङलगायत लिम्बू समुदायबसोबास गर्ने क्षेत्रहरुमा शुभकामना आदान–प्रदान तथा मौलिक गीत–सङ्गीतसहितको सांस्कृतिक कार्यक्रम (यालाङ, केलाङ)धान तथा च्याब्रुङ नाच गरी मनाउँने गर्दछन् ।

यसलाई धार्मिक महत्व मानिन्छ भने सामाजिक महत्वमा चासोक तङ्नाममा रिस, इष्र्या बिर्सेर आत्मियताका साथ लिम्बू दाजुभाइ, दिदीबहिनी भेटघाट र शुभकामना आदानप्रदान गर्दछन् । पाहुना आउने–जाने, मिठो मसिनो विभिन्न खानपिन बनाइ खाने, सुख–दुःख साटासाट गर्दै खुसीयाली मनाउने, चेलीबेटीबाट हुक्वा, चेसुङ ल्याउने, माइत तथा ससुराली जाने अवसरका रूपमा यस पर्व मान्दै आएका छन् । सामूहिकरूपमा भेला भएर केलाङ, यालाङ, नाचेर, पालाम, सांस्कृतिक कार्यक्रम गरेर, साम्लो (गीत) आदि गाएर मनोरञ्जन गर्दछन् । यस्तै परम्परागत खेल पक्लुङ लेप्मा (छेलो हान्ने) खेल खेल्ने गर्दछन् ।

ताप्लेजुङमा किराँत याक्थुङचुम्लुङले आउँदो मङ्सिर १८ गते लिम्बू समुदायहरु भएको क्षेत्रमा सामूहिक चासोक तङनाम पर्व मनाउने तयारी रहेको कङ्लिवा लिम्बूले बताए । पर्वकै अवसरमा ताप्लेजुङमा विभिन्न खेलकुद प्रतियोगिता, साँस्कृतिक कार्यक्रमहरु हुने भएको छ ।

यता फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा दिएको छ । लिम्बूहरूको महानपर्व चासोक तङ्नामको पावन अवसरमा स्थानीय बिदा दिएको हो । नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै मिति २०८२ कात्तिक ३० गतेको ७६औँ कार्यपालिका बैठकको निर्णय अनुसार याक्थुङ चुम्लुङ धर्मावलम्बीहरूको महान चाड चासोक तङ्नामको पावन अवसरमा मिति २०८२ साल मङ्सिर १ गते सोमबारका दिन स्थानीय बिदा दिएको जानकारी गराएको छ ।

दलित भनेर भेदभाव गर्नेको सम्पत्ति जफत र आजीवन काराबास गरौं : वामदेव गौतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले दलित भन्ने शब्दलाई नेपालले संवैधानिक र कानुनी रुपमा नै मान्यता दिइएको भन्दै असन्तुष्टि जनाएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भने, ‘संविधानमा दलित समुदाय छन् र उत्पीडित छन् भन्यौं । अमेरिकामा गएर यही भन्छौं र सहयोगको कुरा गर्छौं । यसरी अन्त्य हुन्छ विभेद ?’

विभेद अन्त्य गर्न व्यवहार सुध्रिनुपने र यसका लागि कडा कानुन बनाउनु पर्ने उनले बताएका छन् । ‘दलित भनेर भेदभाव गर्नेको सम्पत्ति जफत गरौं र आजीवन काराबासको सजाय गरौं’ उनको प्रस्ताव छ, ‘आजीवन काराबास पूरा भुक्तान गर्नुपर्ने गर्नुपर्छ छुट नहुने गरी ।’ नेपालको संविधान धारा ४० मा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था छ । यो संवैधानिक हक कार्यान्वयन हुन सकेको छैन । यही विषयमा संसदीय समितिको बैठकमा छलफल जारी छ । संविधानको यो धाराले दलित समुदायको आर्थिक–सामाजिक हित सुनिश्चित गरेको छ । जहाँ राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुने उल्लेख छ ।

सार्वजनिक सेवा लगायतका रोजगारीका अन्य क्षेत्रमा दलित समुदायको सशक्तिकरण, प्रतिनिधित्व र सहभागिताका लागि कानुनबमोजिम विशेष व्यवस्था सुनिश्चित गरिएको छ । दलित विद्यार्थीलाई प्राथमिकदेखि उच्च शिक्षासम्म कानुनबमोजिम छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था गर्ने व्यवस्था धारा ४० मा छ । तर, यो संवैधानिक व्यवस्था अझै कार्यान्वयन हुन सकेको छैन । कारण– यससम्बन्धी ऐन नै बन्न सकेको छैन । संविधानतः प्राविधिक र व्यावसायिक उच्च शिक्षामा दलितका लागि कानुनबमोजिम विशेष व्यवस्था हुनुपर्ने हो ।

दलित समुदायलाई स्वास्थ्य र सामाजिक सुरक्षा प्रदान गर्न कानुनबमोजिम विशेष व्यवस्था गरिनुपर्ने हो । तर संविधान कार्यान्वयनका लागि आवश्यक त्यही संघीय कानुन नबन्दा दलितले संवैधानिक रूपमा लिएको अधिकार उपभोग गर्न पाएका छैनन् । संविधानको धारा ४० मै दलित समुदायको परम्परागत सिपको सन्दर्भमा आफ्नो परम्परागत पेसा, ज्ञान, सिप र प्रविधिको प्रयोग, संरक्षण र विकास गर्ने हक हुने भनिएको छ । राज्यले दलित समुदायका परम्परागत पेसासँग सम्बन्धित आधुनिक व्यवसायमा उनीहरूलाई प्राथमिकता दिई त्यसका लागि आवश्यक पर्ने सिप र स्रोत उपलब्ध गराउने उल्लेख छ । यी कुनै पनि व्यवस्थाको सही अर्थमा कार्यान्वयन हुन नसकेको भनेर राष्ट्रिय सभा सदस्यहरूले सरकारको ध्यानाकर्षण गरेका छन् ।

एनपीएलमा २३ सय बढी सुरक्षाकर्मी परिचालन हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजबाट सुरु हुँदैछ । जस्का लागि २३ सय बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दैछन्। यो भिडन्त आज दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदै छ।

मंसिर २७ गतेसम्म चल्ने एनपीएलको सुरक्षार्थ १९०० प्रहरी परिचालन हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । २२५ सशस्त्र प्रहरी र २ सय प्राइभेट गार्ड खटाइने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

दिन र रातमा दुवै समयमा खेल हुने हुँदा एनपीएलको सबै पक्षको सुरक्षाका लागि सुरक्षाकर्मी खटिनेछन् ।

प्रधानमन्त्री कार्कीविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । राजदूत फिर्ता बोलाउने निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्चको पूर्व प्रधानन्यायाधीश समेत रहेकी कार्कीविरुद्ध दायर भएको यो पहिलो रिट हो । अधिवक्ता प्रेम सिलवालले दायर गरेको रिट निवेदनको पेसी यही मंसिर ७ गतेलाई तोकिएको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले अघिल्लो सरकारको पालामा नियुक्त ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णयक असोज ३० गते गरेको थियो ।

त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न कात्तिक १६ गते अन्तरिम आदेश दिएको थियो । तर त्यसको भोलिपल्टै प्रधानमन्त्री कार्कीले नै सम्हालेको परराष्ट्र मन्त्रालयले राजदूत फिर्ता बोलाएर परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो । सो निर्देशनपछि राजदूतहरू मन्त्रालयमा हाजिर गरी फर्किने गरेका छन् ।

 

प्रधानमन्त्री कार्कीले नागरिक समाजका अगुवाहरूसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (सोमबार) नागरिक समाजका अगुवाप्रतिनिधिहरूसँग छलफल गर्ने भएकी छिन् । प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल हुनेछ ।

चुनावको वातावरण बनाउन प्रधानमन्त्री कार्कीले पछिल्लो समय संवादलाई तीब्र पारेकी छिन् । गत भदौका २३ र २४ गतेको जेनजी आन्दोलनपछिको देशको अवस्था र २१ फागुनका लागि तय भएको निर्वाचनलगायत विषयमा अन्तक्र्रिया हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री कार्कीले विभिन्न राजनीतिक दलका नेता, प्रदेश तथा स्थानीय तहका प्रमुख र जेनजी अगुवालगायतसँग छलफल गरेकी थिइन् ।

चितवन र तनहुँको देवघाटधामलाई जोड्ने झोलुङ्गे पुल जीर्ण : शतबीज छर्न आउने भक्तजनलाई समस्या

नवलपुर(नवलपरासी) । पवित्र तीर्थस्थल देवघाटधाममा बालाचतुर्दशीको तयारी अन्तिम चरणमा पुगेको छ । नवलपुर, तनहुँ र चितवनमा पर्ने कालीगण्डकी नदी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा हजारौँ भक्तजन शतबीज छर्न आउने गरेका छन् ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाटमा यही मङ्सिर २ गतेदेखि नै भक्तजनहरु आउने भएकाले सोहीअनुसारको तयारी गरिएको बताएका छन् । बालाचतुर्दशीको अवसरमा अघिल्लो दिन ९मङ्सिर २ गते० आएर रातभर बत्ती बाल्ने तथा भोलिपल्ट बिहानै स्नान गरी सतबिज छर्न प्रचलन रहेको उनको भनाइ छ । “देवघाटतर्फ चार स्थानमा हाइमास्ट बत्ती राखेका छौँ, तनहुँतर्फ सडक बत्ती बाल्नेगरी पोल ठड्याएका छौँ” उनले भने, “देवघाटको बेनी सङ्गममासमेत उज्यालो हुने गरी बालाचतुर्दशीका लागि पाँच बत्ती जडान गर्दैछौँ ।”

देवघाटको समग्र सुरक्षा व्यवस्थालाई मजबुत पार्न स्थानीय प्रशासन र प्रहरीसँग छलफल गरिसकेको बरालको भनाइ छ । “शतबीज छर्न आउने भक्तजनलाई सुरक्षित महसुस गर्न पर्याप्त सुरक्षाकर्मी परिचालन हुने आश्वासन पाएका छौँ” उनले भने, “स्नानघाटसमेत हुनसक्ने दुर्घटनालाई मध्यनगर गर्दै दुईवटा ¥याफ्टिङ बोट तयारी अवस्थामा राखेका छौँ ।”

तीर्थयात्रीको सुरक्षालाई ध्यान दिएर बेनी सङ्गममा मागन्तेहरुलाई बस्न नदिनेगरी तनहुँको प्रहरीसँग छलफल गरिएको कार्यकारी निर्देशक बरालले बताए । देवघाटको बेनी सङ्गममा जानका लागि पैदल, सवारीसाधन तथा जलमार्गबाटसमेत पुग्न सकिन्छ । देवघाटको बेनी सङ्गममा नवलपुरको गैँडाकोट हुँदै हर्दीकेलादी तथा चितवनको ठिमुरा र दासढुङ्गाबाट यातायातको साधनमासमेत जान सकिन्छ । त्यस्तै जलमार्ग हुँदै चितवनबाट त्रिशूली नदी एवम् नवलपुरबाट कालीगण्डकी नदीमा ¥याफ्टिङबाट तरेरसमेत बेनी सङ्गममा पुग्ने सकिने अवस्था छ ।

पैदल जाँदा भने चितवनको भरतपुर–१ देवघाटबाट झोलुङ्गे पुल तरेर जानुपर्ने हुन्छ । चितवन र तनहुँको देवघाटधामलाई जोड्न ४४ वर्ष अगाडि निर्माण गरिएको झोलुङ्गे पुल जीर्ण भएकाले २ गतेदेखि नै पुलमा मोटरसाइकल आवतजावत गर्न प्रतिबन्ध लगाइने कार्यकारी निर्देशक बरालले बताएका छन् । “यो झोलुङ्गे पुल देशकै सबैभन्दा बढी यात्रु ओहोरदोहोर गर्ने झोलुङ्गे पुल हो, पुल निकै पुरानो भएको हुँदा पुलका नटबोल्टुहरु हल्लिएका छन्” उनले भने, “पुल पुरानो भएकाले जुनसुकै बेला पनि दुर्घटना हुनसक्ने भन्दै ललितपुरमा रहेको सस्पेन्सन ब्रिज तथा झोलुङ्गे पुल महाशाखामा ताकेता गरिरहेका छौँ, तर मर्मत भएको छैन ।”

झोलुङ्गे पुलको कम प्रयोग गर्न तथा पुलको प्रयोग गर्नै परेमा पनि लामबद्ध भएर यात्रा गर्न बरालले तीर्थयात्रुसमक्ष अनुरोध गरेका छन् । “एकैपटक धेरै यात्रुलाई पुलले नथेग्न सक्छ” उनले भने, “यसका लागि लाइन लागेर पुलबाट यात्रा गर्न अनुरोध गरेका छौँ ।” देवघाटमा त्रिशूली नदी र कालीगण्डकी नदी तर्नका लागि ¥याफ्टिङ बोटकोसमेत व्यवस्था भएको भन्दै बरालले नदीमा एकतर्फि डुङ्गा गर्न रु ५० भाडा तोकिएको जानकारी दिएका छन् ।

देवघाटधाममा सतबिज छर्न मङ्सिर २ गतेदेखि नै भक्तजन आउने भएकाले यहाँ सवारीसाधन व्यवस्थापन निकै कठिन रहेको बरालले बताएका छन् । “हामीले सकेसम्म भक्तजनको भिड कम हुने र सुरक्षित हुनेगरी स्नान गरेर फर्किने गरी व्यवस्था गरेका छौँ” बरालले भने, “ठूला सवारीसाधन चितवनतर्फ र नवलपुरतर्फ पार्किङ गर्ने व्यवस्था गरेका छौँ भने मोटरसाइकल क्षेत्र विकास समितिको कार्यालय अगाडिको चौरमा पार्किङ गर्ने व्यवस्था गरेका छौँ ।”

तीर्थयात्रु लिएर तनहुँ पुगेका ठूला सवारीसाधनले टाउनचोकमा यात्रुहरु झारेर कालीगण्डकी नदीको पुल तरी नवलपुरको केलादीमा पुगेर पार्किङ गर्नुपर्ने बरालले बताए । गतवर्ष बालाचतुर्दशीमा सतबिज छर्न करिब एक लाख भक्तजन आएको उल्लेख गर्दै बरालले अहिले पनि त्यही सङ्ख्यामा आउने अनुमान गरिएको बताएका छन् । देवघाटमा करिब २० हजार भक्तजनलाई रात बिताउनका लागि आश्रम तथा त्रिपालको व्यवस्था गरिएको भन्दै बरालले त्यो भन्दा बढी भक्तालु रात बिताउने गरी आएमा आफैले व्यवस्थापन गर्नुपर्ने जानकारी दिएका छन् ।

सतबिज छर्न चितवनको बाटो हुँदै जाँदा यात्रुहरुलाई सवारीसाधनको जाम तथा झोलुङ्गेपुलको असुरक्षित यात्रा गर्नभन्दा नवलपुरको बाटो भएर बेनी सङ्गम पुग्न गैँडाकोट नगरपालिकाले आग्रह गरेको छ । गैँडाकोट नगरपालिकाका प्रवक्ता एवम् वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीले गैँडाकोटको कालीगण्डकी चोकबाट कालीगण्डकी करिडोरको बाटो हुँदै केलादी पुग्न सकिने बताएका छन् । “नवलपुरबाट देवघाट पुग्न सहज र सुरक्षित छ, बाटोसमेत कालोपत्र गरिएकाले सहज तरिकाले देवघाट पुग्न सकिन्छ” उनले भने, “केलादीघाटमा सवारीसाधन रोकेर कालीगण्डकी नदीमा स्नान गर्न तथा सतबिज गर्न पनि सकिन्छ, बेनीमा जानका लागि पनि पैदल १० मिनेटमा पुगिन्छ ।”

नवलपुर हुँदै यात्रु देवघाट जाँदा सहज हुने उनले बताएका छन् । नवलपुर तथा यस जिल्लाभन्दा पश्चिमतर्फका यात्रु चितवनतर्फ नगइ सिधैँ गैँडाकोटबाट देवघाट जाँदा सहज हुने तिवारीको भनाइ छ । धार्मिक ग्रन्थानुसार आदिप्रयागको रुपमा परिचित रहेको छ ।

पीडाले मान्छे विद्रोही बन्छ, हामीले पीडा दिनु हुँदैन : अर्थमन्त्री खनाल

काठमाडौं । राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले समावेशी विकास, सुशासन र नागरिकमैत्री शासनव्यवस्थाकै माध्यमबाट स्थायी शान्ति कायम गर्न सकिने बताउँदै सरकार निजी क्षेत्रको सुरक्षाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट गरेका छन् ।

समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले समाजमा कुनै पनि वर्ग वा समुदायले आफू उपेक्षित वा पाखा पारिएको महसुस गर्न नपर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको बताए । ‘मानिसले पीडाबाट विद्रोह गर्छ । नागरिकले राज्यले सुन्ने, साथ दिने र अवसर दिने वातावरण पाए भने कुनै पनि आन्दोलन चर्कदैन’, उनले भने । खनालले हालैको ‘जेनजी आन्दोलन’ केवल राजनीतिक असन्तुष्टि मात्र नभई बेरोजगारी, अवसर अभाव, आर्थिक गतिविधिमा पहुँच नहुँदा युवाहरूमा सञ्चित पीडाको विष्फोट भएको बताएका छन् । उनले भने, ‘समावेशिता र न्यायपूर्ण शासन नहुँदा युवाहरू विद्रोहतर्फ धकेलिन्छन् । जेनजी आन्दोलनले त्यही पीडा उजागर गर्‍यो ।’

सरकारी तथ्यांकअनुसार उक्त आन्दोलनका क्रममा ५५ जिल्लामा करिब २,९०० भवन क्षतिग्रस्त भएका छन् भने भौतिक क्षति करीब रु ७८ अर्ब बराबरको देखिएको छ । खनालले पुनर्निर्माणका लागि चालु आर्थिक वर्षको बजेटबाट एक खर्ब २० अर्ब छुट्याइएको जानकारी दिँदै तत्काल पुनस्र्थापना कार्य अघि बढाइने बताए । अर्थमन्त्री खनालले शान्ति, स्थिरता र निजी क्षेत्रलाई सुरक्षित वातावरण दिने आधार सुशासनमा नै रहेको दोहोर्‍याए ।

‘सुरक्षा बल त आवश्यक छ, तर सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणले दिने सुरक्षा सबैभन्दा बलियो हुन्छ’, उनले भने । उनका अनुसार राज्यका निकायहरू इमानदार भएर चल्ने, कर प्रणाली पारदर्शी हुने र नागरिकले न्यायपूर्ण शासनको अनुभव गर्ने वातावरण निर्माण भयो भने शान्ति दीर्घकालीन हुन्छ र निजी क्षेत्र नडराई लगानीमा अघि बढ्छ । अर्थमन्त्री खनालले आन्दोलनका बाबजुद निजी क्षेत्रले देखाएको मनोबल प्रशंसनीय रहेको उल्लेख गर्दै सरकारले ‘पूर्ण सुरक्षा प्रत्याभूति’ गर्ने घोषणा गरे । ‘सुरक्षामा कुनै कमजोरी हुन दिइने छैन । निजी क्षेत्र आत्मविश्वासका साथ अघि बढ्नसक्ने वातावरण सरकार बनाउँछ’, उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनले उठाएका सुशासनका मुद्दा महत्वपूर्ण भए पनि उद्योगी–व्यवसायीका निजी तथा व्यावसायिक संरचनामा भएको तोडफोड अस्वीकार्य रहेको भन्दै संलग्न व्यक्तिमाथि कडा कारबाहीको माग गरे । बजारमा तरलता प्रशस्त भए पनि ठूलो परियोजनाको ढिलाइ र धेरै कम्पनीका आइपीओ रोकिएको कारण निजी क्षेत्र निराश बन्दै गएको उनले बताए ।

कर दिवसको अवसरमा अर्थमन्त्री खनालले इमानदार व्यवसायीलाई अनावश्यक झमेला हुने ‘फुल अडिट’को प्रथाबाट हट्ने र कर प्रणालीमा सुधार गर्ने संकेत दिए । उनले पुँजी बजारका संरचनागत समस्या समाधान गर्न सके अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गरे ।अर्थसचिव घनश्याम उपाध्यायले रोजगारीमुखी लगानी बढाउनु पर्ने र राजस्व प्रशासन आधुनिकीकरण गर्दै ‘फेसलेस अडिट’ लागू गर्नुपर्ने धारणा राखे । यस्तै राजस्व सचिव भूपाल बरालले लक्ष्य हासिल गर्न कर चुहावट नियन्त्रण, प्रशासन सुधार र प्रविधिको व्यापक प्रयोग अनिवार्य भएको बताए ।

कर्णालीको कानुन मन्त्रालय खारेज, २५ कर्मचारीको दरबन्दी कटौती

सुर्खेत । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय खारेज भएको छ । उक्त मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । अब कर्णालीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित जम्मा ७ वटा मन्त्रालय रहने छन् ।

सोमबार जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता विनोदकुमार शाहले प्रशासनिक पुनर्संचनाअनुसार पहिलो चरणमा कानुन मन्त्रालयलाई मुख्यमन्त्री कार्यालयमा गाभिएको जानकारी दिए । मुख्यमन्त्री यामलाल कँडेलले पदभार ग्रहण गरेसँगै प्रदेशको प्रशासनिक संरचनालाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यले पहल थालेका थिए ।

मुख्यमन्त्री कँडेलले सोहीअनुसार गत वैशाखमा अवकाशप्राप्त सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा ‘उच्चस्तरीय सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समिति’ गठन गरेमन थिए । उक्त समितिमा कर्णालीकै पूर्वमुख्य सचिव डा. गोपीकृष्ण खनाल र डा. सुरेश तिवारी सदस्य थिए ।
‎‎उक्त समितिले गत १५ असारमा सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनले प्रदेशका ८ वटा मन्त्रालयलाई घटाएर ६ वटामा झार्ने, दर्जनौँ निर्देशनालय र कार्यालय खारेज गर्ने तथा कर्मचारी दरबन्दीलाई दुई हजार पाँच सयमा सीमित गर्ने जस्ता महत्त्वपूर्ण प्रस्ताव अघि सारेको थियो ।

कानुन मन्त्रालय खारेज भएसँगै एक जना मन्त्री, एक प्रदेश सचिवसहित २५ जना कर्मचारीको दरबन्दी कटौती गरिएको छ । एक प्रदेशसचिवसहित २५ जना कर्मचारीको दरबन्दी कटौती गरिएको छ । दुवै मन्त्रालयमा गरी कर्मचारीको दरबन्दी हाल १०१ रहेकोमा ७६ दरबन्दी कायम गरिएको छ । यसबाट चालु तथा प्रशासनिक खर्चबापत वार्षिक तीन करोड रुपैयाँ बचत हुने मन्त्री शाहले जानकारी दिए ।

 

 

कृषि औजार मार्फत् आलु रोप्दै किसान

चितवन । यहाँका किसानले आलु खेतीका लागि नयाँ प्रविधिको प्रयोग गर्न थालेका छन् । पूर्वी चितवनको खैरहनीमा किसानले भारतबाट आलु लगाउने औजार ल्याएर रोप्न थालेका छन् । विगत लामो समयदेखि आलुखेती गर्दै आउनुभएका खैरहनी नगरपालिका–१० का कृष्ण अर्याल भारतबाट उपकरण झिकाएर आलु रोपेको जानकारी दिए ।

उनले भने “खँर्च कम आउने, पानी लगाउन सजिलो हुने र आकर्षक देखिने भएकाले यो औजार मगाएका हाँै ।” सुरुआतमा यसको प्रभावकारिता हेर्ने भनेर ल्याइएको भए पनि अहिले आलुखेती गर्ने किसानले यही राख्ने योजनामा रहेको उनले बताएका छन् ।

आलुको बीउ रोप्न र खन्न यसले सहज हुने गरेको उनले जानकारी दिए । किसान अर्यालले हरेक वर्ष पाँच बिघा क्षेत्रफलमा आलुखेती गर्दै आएका छन् । उनका अनुसार मजदुर लगाउँदा एक कठ्ठामा रु एक हजार खँर्च आउने गर्दथ्यो । अहिले यो औजारले एक बिघा ६ कठ्ठा (२६ कठ्ठा) रोप्नका लागि तीन घण्टा लागेको उनले सुनाएका छन् ।

सो क्षेत्रफलमा आलु रोप्दा तीन घण्टाको रु ६ हजार ६ सयमा आलु रोपिएको उनले जानकारी दिएका छन् । खैरहनीमानै आलुखेती गर्दै आएका किरण आचार्य, मधु उप्रेती, दिपेन्द्र आचार्य, सीताराम अर्याल, रत्ननगरमा आलु खेती गर्दै आएको मधुर नेपाल लगायतका किसानले प्रविधिको प्रयोग गरेर आलु रोपिसकेको छ ।

किसान आर्यालले भने “उपकरण केही ढिला गरेर आउँदा सबै किसानले यसको प्रयोग गर्न पाएनन् । आगामी याममा सबैले यसको प्रयोग गर्ने छन् ।” यस उपकरणले चारवटा लाइनमा मल र बीउ एकै पटक खसाल्ने गरेको अर्का किसान सीतारमा अर्यालले जानकारी दिएका छन्।

यसले एक पटकमा चार क्वीन्टल बीउ र एक क्वीन्टल मल बोकेर रोप्ने गर्दछ । यसका लागि ४० देखि ५० ग्रामका एकनासे आलुका बीउ हुँदा रोप्न सजिलो हुने उनले बताए । ठूला गरामा यसको प्रयोग गर्दा छिटो हुने गरेको किसानले बताएका छन् । यो औजारको प्रयोगले आलुखेती गर्ने किसानलाई सहज बनाएको छ ।

अहिले आलु लगाउने मुख्य मौसमको रुपमा रहेको छ । केही समय अघि लगाएर उम्रने समयमा आएको बेमौसमी वर्षातका कारण यस क्षेत्रका किसानले क्षति व्यहोर्नु परेको छ । बेमौसमी वर्षात्का कारण यहाँ लगाइएको आलुको बीउ कुहिएको थियो । कृषि विकास कार्यालय चितवनका बागबानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार जिल्लाको ९७ दशमलब ७ हेक्टर क्षेत्रफलमा लगाइएको आलुको बीउ कुहिएको छ ।

एक हेक्टर क्षेत्रफलमा दुई हजार किलो आलुको बीउ प्रयोग हुने गर्दछ । उनले भने “आलुको बीउ कुहिएसँगै किसानले बीउ नपाउने र मूल्य नपाउनसक्ने जनाउँदै खेती परिवर्तन गर्न थालेका छन् ।” जिल्लामा एक हजार ९९० हेक्टर क्षेत्रफलमा आलुखेती गरिँदै आएको छ । अहिले वर्षातका कारण बीउ उम्रने समयमा कुहिएपछि केही क्षेत्रफल घट्न सक्ने कार्यालयले जनाएको छ ।

किसानले उत्पादनपछि बजार मूल्य नपाउने हो की भन्ने डरले आलु लगाउने जग्गामा राजमा, सिमि जस्ता बाली लगाउन थालेको उनले जानकारी दिए । जिल्लामा विशेषगरी खैरहनी नगरपलिका, राप्ती नगरपालिका, रत्ननगर नगरपालिका, भरतपुर महानगरपालिका र माडी नगरपालिकामा आलुखेती हुने गरेको छ । प्रति किलो रु ६० मा किनेर लगाएको आलुको बीउ कुहिएपछि किसान चिन्तित बनेका छन् । पुनः लगाउनका लागि आलुको बीउ पाउनसमेत कठिन भएको छ । चौहानले भने “कतिपयले बीउ कुहिए पनि पुनः आलु खेतीनै गरेका छन् भने कतिपयले खेती परिवर्तन गरेका छन् ।”

मधेश भवन अगाडि सातौं दिन पनि सांसदहरु धर्नामा

काठमाडौं । गत सोमबारदेखि आन्दोलित मधेश प्रदेशका सात दलका सांसदहरु आज पनि सडकमा उत्रिएका छन् । सर्वोच्च अदालतले आज मधेश प्रदेशको सरकार गठनको विषयमा सुनुवाइ गर्दैछ । अदालतले आज सुनुवाइ गर्ने भएपछि सांसदहरु बिहानैदेखि सडकमा आएका हुन् ।

असंवैधानिक मुख्यमन्त्री नियुक्ति, सांसदहरुमाथि कुटपिटमा उत्रिने अविस्वासको प्रस्ताव दर्ता भइसकेका मधेश प्रदेश सभाका उपसभामुख रामचन्द्र मण्डलको सांसद पदमुक्तिलगायतका प्रकरणको विरोधमा सात दल निरन्तर आन्दोलनरत छ । नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी एकसातादेखि मधेश भवन अगाडि धर्ना दिँदै आएका छन् ।

संविधानको धारा १६८ को ३ बमोजिम तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा गठन भएको सरकार असंवैधानिक रहेकोले बदर हुनुपर्ने सातदलीय गठबन्धनको माग छ ।
मधेश प्रदेश सभा सदस्य राजकुमार गुप्ताले अदालत प्रति विश्वस्त रहेको बताए । उनले न्यायको मन्दिर अदालतले संविधान रक्षात्मक र लोकतन्त्रको मूल्य मान्यतालाई यथावत राख्ने बताए । अदालतले गैर संवैधानिक गिरोहलाई आफ्नो न्यायले मात दिने विश्वास व्यक्त गरे ।

 

 

 

वाणिज्य विभागले माग्यो आवश्यक सुझाव

काठमाडौँ । वाणिज्य विभागले बजारको तह र वस्तु तथा सेवाको मापदण्ड निर्धारणका लागि आवश्यक सुझाव उपलब्ध गराउन आग्रह गरेको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १३ अनुसार, बजारको तह तथा वस्तु र सेवाको मूल्यको मापदण्ड निर्धारण गर्नका लागि अध्ययन प्रतिवेदन पेस गर्न विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गरिएको विभागले स्मरण गराएको छ ।

नागरिक तथा उपभोक्ता समेतबाट बजारको तह र मूल्य निर्धारणसम्बन्धी मापदण्डको मस्यौदा तयार गर्नका लागि सुझाव लिने निर्णय भएको विभागले उल्लेख गरेको छ ।

वस्तु तथा सेवाको मूल्य निर्धारणमा एकरुपता, पारदर्शिता र नियमनको आवश्यकता, मूल्य नियन्त्रण, उपभोक्ता संरक्षण तथा बजार सन्तुलनका साथै बजारको नियम समेतलाई मध्यनजर गर्दै हाल चलनमा रहेका बजार संरचनाको स्पष्ट परिभाषा भएको विभागले स्पष्ट पारेको छ । मूल्य निर्धारण मापदण्डका लागि स्पष्ट आधार तथा औचित्य समेतलाई विचार गरी १५ दिनभित्र सुझाव दिन सम्बद्ध सबैलाई विभागले आग्रह गरेको छ ।

यस पटक पनि शाह बने सर्वाधिक करदाता, यी हुन् ‘टप’ करदाता (सूचीसहित)

काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । यस वर्ष व्यक्तिगततर्फ सर्वाधिक आयकर तिर्ने व्यक्तिको रूपमा व्यवसायी राजबहादुर शाह सम्मानित भएका हुन् । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी कर तिरेर राष्ट्रिय दायित्व पूरा गर्ने व्यक्ति, संस्था तथा निकायहरूलाई विशेष समारोहबीच सम्मानपत्र प्रदान गरे ।

सर्वाधिक आयकर तिर्ने निकायको रूपमा नेपाल दूरसञ्चार प्राधिकरणले सम्मान प्राप्त गर्दा, एकलौटी फर्मतर्फ थर्ड आइ इन्टरनेसनल सम्मानित भएको छ । वस्तुगत आयकरतर्फ डाबर नेपाल र सूचना–प्रविधितर्फ भेरिक्स नेपाल प्रालिलाई सम्मान गरिएको छ। त्यसैगरी, निर्यात कारोबारमा डाबर नेपाल प्रालि, कृषि तथा पशुजन्य उद्योगमा पोषक ब्रिडर, र बैंक तथा वित्तीय संस्थातर्फ नेपाल इन्भेष्टमेन्ट बैंकले सम्मान पाएका छन् । स्वास्थ्य तथा शिक्षा क्षेत्रमा नोबेल मेडिकल कलेज र पर्यटन क्षेत्रमा सोल्टी होटल उत्कृष्ट करदाता घोषित भएका छन् ।

यस पटक वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, मध्यस्तरीय करदातातर्फ सीडीएस एण्ड क्लियरिङ लिमिटेड, ऊर्जातर्फ भोटेकोशी पावर कम्पनी र रेमिट्यान्सतर्फ आईएमई सम्मानित भएका छन् । व्यक्तिगत आयकरमा राजबहादुर शाहले विशेष सम्मान प्राप्त गर्दा, समयमै कर तिर्ने कम्पनीका रूपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले पनि सम्मान पाएको छ । ५० करोड बढी कारोबार गर्ने कम्पनीहरूमध्ये भीएफ सर्भिसेज र विशेष उद्योगका रूपमा युनिलिभर नेपाललाई पनि राष्ट्रिय कर दिवसको अवसरमा कदर गरिएको छ ।

 

सलकपुरमा सुन्तला खान पुग्छन् : पर्यटक

झापा । पूर्वीनाका काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा यतिबेला सुन्तला पाकेर पहेँलपुर भएका छन् । सुन्तला पाकेसँगै यहाँ पर्यटकको आगमन ह्वात्तै बढेको छ ।

इलामको रोङ गाउँपालिका–६ सलकपुरको ९० हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ । जहाँ लटरम्म पाकेका सुन्तलाका दाना बोटबाटै टिपेर खान मात्र होइन, फोटो र भिडियो खिचेर टिकटक बनाउन आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्छ ।

सलकपुरका करिब ३० घरमा घरवास ९होमस्टे० सञ्चालन छ । प्रत्येक हप्ताको शुक्रवार र शनिवार यहाँका सबै घरवासमा पर्यटक भरिभराउ हुने वडाध्यक्ष सत्यम राईले बताएका छन् । उनका अनुसार सो क्षेत्रमा दैनिक एक सयको हाराहारीमा आन्तरिक पर्यटक सुन्तला पछ्याउँदै आउने गरेका छन् ।

उनले सलकपुरको स्वादिलो सुन्तला बोटमै टिपेर खानका लागि इलाम, झापा, मोरङ, सुनसरीदेखिका आन्तरिक पर्यटक घरवासमा बास बस्न आउने गरेको जानकारी दिएका छन् । यहाँ छिमेकी मुलुक भारतको सिलगढी, दार्जीलिङ र कोलकातातिरका पर्यटकसमेत आउन थालेको उनले बताएका छन्।

सिङ्गो वडा नै सुन्तला खेतीका लागि प्रसिद्ध छ । यहाँको सलकपुर, कुवापानी र जौबारीलगायतको क्षेत्रमा सुन्तलाको व्यावसायिक खेती हुने गरेको छ । विगत लामो समयदेखि सुन्तलाको व्यावसायिक खेती गर्दै आएका मदन विमलीले बोटबाटै प्रतिकेजी रु १३० मा सुन्तला बिक्री गरिरहेको बताएका छन्।

उनका बारीमा यसवर्ष तीन वर्ष यताकै राम्रो सुन्तला फलेको छ । आठ रोपनीमा लगाएको सुन्तला खेतीबाट राम्रै आम्दानी हुने गरेको उनको भनाइ छ । उनले यहाँ उत्पादित सुन्तलाको बजार झापा नै रहेको बताएका छन्। “विगतमा सुन्तला बगानमै व्यापारीलाई गोलमोटोल मूल्य राखेर दिन्थ्यौँ,” उनले भने, “यसपाली आफैँ बिक्री गरिरहेका छौँ । व्यापारीलाई दियो भने आफूले टिप्नै मिल्दैन । यहाँ आउने पर्यटकले पनि टिपेर खान्छन्, पैसा पनि तिर्छन् ।”

उनले हालसम्ममा एक क्विन्टल सुन्तला बिक्री गरिसकेको र अझै बारीमा त्यति नै टिप्न बाँकी रहेको बताएका छन् । उनले यहाँ आएका पर्यटकलाई सुन्तला बारीमा पस्नका लागि नियम बनाइएको बताएका छन् । पर्यटकले फोटो, भिडियो खिँच्न र टिकटक बनाउन सुन्तला बगान खुल्ला रहे तापनि जथाभावी टिप्न नपाइने उनको भनाइ छ ।

सलकपुरकै देवेन खड्काले १० रोपनी जमिनमा सुन्तलाको खेती गरेका छ । उनले यहाँ सुन्तलाबारीमा रमाउन र सूर्योदयको अवलोकन गर्न पर्यटक आउने गरेको बताएका छन् । सलकपुरमै रहेको गुर्धुम डाँडाबाट सूर्योदयको दृश्यावलोकन गर्न सकिने हुँदा पनि यो स्थान पर्यटकको रोजाइमा परेको उनको भनाइ छ ।

विसं २००४ मा दार्जीलिङबाट आएर बसोवास गरेका गौरीलाल लामाले यहाँ सुन्तला खेती सुरु गरेका थिए । सुरुमा दार्जीलिङबाट विरुवा ल्याएर खेती सुरु गरे तापनि हाल पाल्पाबाट उन्नत जातका सुन्तलाको विरुवा ल्याएर व्यावसायिक खेती भइरहेको उनले बताएका छन् । “झापादेखिका व्यापारीले सुन्तला बोटमै खरिद गर्छन्,” उनले भने, “उत्पादनमा मात्र ध्यान दिए पुग्छ, बजारको समस्या छैन ।”

सुन्तला, अलैँची, अकबरे, अम्लिसो, महलगायतका कृषिजन्य सामग्री उत्पादनले प्रसिद्ध सलकपुरमा नेपालका बिभिन्न ठाउँबाट त्यसैको अध्ययनका लागि पनि पर्यटक आउने गरेको वडाध्यक्ष राईको भनाइ छ । यहाँ उत्पादित सुन्तला भारतको कोलकातामा हुने सुन्तला महोत्सवसमेतमा प्रत्येक वर्ष प्रदर्शन र बिक्रीका लागि लैजाने गरिएको छ ।

शीर्ष नेताको घरमा एकाध करोड हुनु ठूलो कुरा होइन : प्रचण्ड

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको घरबाट जम्मा एक लाख रुपैयाँ भेटिएको भन्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले धेरै रकम घरमै नराख्ने गरेको दाबी गरेका छन् । तर सुरक्षा कारण देखाउँदै १०–५ लाखका रुपैंयाँ साथीभाइका घरमा राख्ने गरेको स्वीकारोक्तिले भने राजनीतिक प्रश्न खडा गरेको छ ।

हिमालयन टेलिभिजनको ‘यक्ष प्रश्न’ कार्यक्रममा प्रस्तोता निमेष बन्जाडेको लगातार कडा प्रश्नकाबीच प्रचण्डले पैसा व्यवस्थापनबारे खुलेर बोल्न बाध्य बनेका थिए । आफ्नो घरमा ठूलो परिमाणको पैसा भेटिएको हल्ला असत्य भएको जिकिर गर्दै प्रचण्डले भने, ‘प्रचण्डकोमा देखिएको भनेको जम्मा एक लाख रुपैयाँ हो । अरुको घरमा देखिएको पैसा मेरो भनिएको झूटो प्रचार हो ।’

अघिल्लो रात दुई ट्रक पैसा अन्यत्र लैजाने काम भएको भनी एक पूर्व प्रहरी अधिकारीले आरोप लगाएको विषयमा उनले कडै प्रतिक्रिया व्यक्त गर्दै यसलाई ‘१०० प्रतिशत झूटो’ र ‘नेपालका नेताहरूमाथिको ठूला षडयन्त्रको हिस्सा’ भनेका छन् । प्रस्तोताले राजनीतिक दल सञ्चालन, कार्यकर्ता व्यवस्थापन र दैनिक खर्चको सन्दर्भमा शीर्ष नेताको घरमा एकाध करोड हुनु असामान्य नहोला कि भन्ने प्रश्न उठाएपछि प्रचण्डले भने, ‘त्यो ठूलो कुरा होइन । तर मैले घरमा पैसा राख्दैनथें । विभिन्न साथीहरुकैमा १०–५ लाख गरेर राखिदिन्थें । यति गरे सुरक्षित पनि हुन्छ र पार्टीभित्र प्रश्न पनि उठ्दैन ।’

उनले साथीहरूलाई रकम कुन ठाउँमा छ भन्ने थाहा समेत रहेको बताएका छन् । यो स्वीकारोक्तिले शीर्ष नेतृत्वको वित्तीय पारदर्शिता कति अस्पष्ट छ भन्ने प्रश्न फेरि एक पटक उजागर गरेको छ । कार्यक्रममा प्रचण्डकी छोरी गंगा दाहालको घरमा भेटिएको शव तथा मृतकले पैसाको झोला समाएको भनिएको हल्लाबारे पनि प्रश्न उठ्यो । प्रचण्डले अनुसन्धान जारी रहेको भन्दै पूर्ण जानकारी खुलाउन नमिल्ने बताए । तर उनले त्यहाँ केही रकम भएको स्वीकार गरे । ‘केही पैसा थियो होला त्यहाँ । पक्कै थियो होला । मैले विभिन्न ठाउँमा पैसा राख्ने सन्दर्भमा त्यहाँ पनि पुगेको होला ।’

काष्ठकलामा सिपालु भीमबहादुर

गलकोट (बागलुङ) । यहाँस्थित बागलुङ नगरपालिका–३ खहरेका भीमबहादुर विश्वकर्मा विगत तीन वर्षदेखि कालिका मन्दिर क्षेत्र कलात्मक बनाउनमा व्यस्त छन् । मन्दिर पुनःनिर्माण गर्ने, स–साना मठलाई ताम्रापत्रले छाउने र पुनःनिर्माणमा उनलाई भ्याइनभ्याइ छ ।

कालिका मन्दिर वरपर रहेको सत्तल, सचिवालयसहितका स–साना संरचना, मन्दिर तथा मठका झ्याल, तोरण, टुँडाल र ढोकामा बुट्टा भर्दै भीमबहादुरको तीन वर्ष बितेको हो ।

“कालिका मन्दिरमा तीन वर्ष पहिला हवन कुण्डलाई कलात्मक बनाउन आएको थिएँ, त्यस यता क्रमश गणेश मन्दिर, सत्तल, सचिवालयका झ्याल तथा ढोकालाई कलात्मक बनाएँ, मन्दिर परिसरमा अकलादेवीको मन्दिर पुनःनिर्माण सकेर अहिले चण्डीदेवीको मन्दिरमा प्रयोग आउने काठका सामग्री बनाउँदै छु”, विश्वकर्माले भने, “तीन वर्षमा कालिका मन्दिर क्षेत्रका छ वटा मठमन्दिर तथा अन्य भौतिक संरचनामा काठबाट कुँदेका सामग्री राखेर निर्माण गरिएको छ ।”

काष्ठकलामा पोख्त उनी नेपाली सभ्यता र संस्कृति झल्काउने सीपले चर्चित छन् । पछिल्लो समय काष्ठकलाप्रति युवाको आकर्षण घट्दै गएको बेला उनी जस्ता सीपका धनी पाउनै गाह्रो छ ।

खँर्च र समय बढी लाग्ने भएकाले पछिल्लो पुस्ताले काठबाट निर्मित टुँडाल, झ्याल र ढोकाको प्रयोग गर्न छाडेको उनी बताँउछन् । ६३ वर्षीय विश्वकर्माको जीवन नै काष्ठकलामै बित्यो । आफ्नो सात पुस्तादेखि मुख्य पेसा काष्ठकला रहेको उनको भनाइ छ । बुवा मोतिलालले विभिन्न मन्दिरको टुँडाल तथा भगवानका आकृति बनाएको देखेरै १५ वर्षको उमेरदेखि उहाँ काष्ठकलातर्फ आकिर्षत भएको बताँउछन् ।

तामाले छाना छाउने सिप समेत उनमा छ । उनले काठलाई विभिन्न घरेलु औजारले महिनौँ कुँदेर विभिन्न आकृतिमा निर्माण गर्दै आएका छन् । “सात पुस्ता काष्ठकलामै समर्पित भयो, बुवासँग २०४८ सालमा कालिका मन्दिरको गजुर मिलाउने, झ्याल तथा ढोका कुँद्ने काम गरेको थिएँ, अहिले बुवाले बनाएकै आँखीझ्याल तथा टुडाँल कालिका मन्दिरमा छन्, बुवा बित्नु भएकै २३ वर्ष बित्यो”, उनले भने ।

विश्वकर्माका पुर्खाले बागलुङ, गुल्मी, पर्वत, म्याग्दीलगायत ठाउँमा दरबार, मठ–मन्दिरलगायतमा काष्ठकलाको काम गरेका छन् । पछिल्लो समय काष्ठकलामा कृत्रिम र विद्युतीय उपकरकण प्रयोग गरिन्छ । तर, घरेलु हतियारले निर्माण गरेको काठको छुट्टै महत्व रहेको उनी बँताउछन् ।

जेनजी आन्दोलनमा घुसपैठ गर्नेलाई कारबाही हुनैपर्छ : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनलाई लक्षित गर्दै तीव्र प्रतिक्रिया गरेका छन् । उनले असल उद्देश्यका साथ सुरु भएको आन्दोलनमा ‘गलत तत्वहरूको प्रवेश’ भएपछि देशभर तोडफोड, आगजनी र लुटपाट जस्ता घटनाहरू भएको बताए । जसको तत्काल कारबाही बिना निजी क्षेत्रको मनोबल उठ्न नसक्ने उनले सरकारलाई सुझाव दिएका छन् ।

राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ढकालले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रण निजी क्षेत्रकै प्राथमिक एजेण्डा भएको उल्लेख गरे । उनले महासंघको साधारण सभाले समेत यही मुद्दालाई औपचारिक दिशानिर्देशका रूपमा पारित गरिसकेको स्मरण गर्दै भने, ‘पवित्र उद्देश्यका साथ चलेका आन्दोलनमा जसरी गलत तत्व सक्रिय भए, चोरी–तोडफोड, आगजनी र लुटपाट भयो— ती सबैलाई सरकार अबिलम्ब कारबाहीको दायरामा ल्याउनै पर्छ । यही हो निजी क्षेत्रलाई ढुक्क बनाउने पहिलो शर्त ।’

ढकालले आन्दोलनको दुव्र्यवहारले उद्योग तथा व्यवसायमा ठूलो आर्थिक क्षति भएको तथ्य उठाए । निजी क्षेत्रको सम्पत्ति सुरक्षित गर्न सरकारले असफल हुने हो भने लगानीमै संकट उत्पन्न हुने भन्दै उनले भने, ‘सुरक्षा दिन नसक्ने हो भने घुसपैठका यस्ता घटना दोहोरिरहन्छन्, व्यवसायीको आत्मविश्वास झन् घट्छ, लगानीकर्ता तर्सिन्छ ।’

तर उनले आलोचनासँगै अर्थ मन्त्रालयलाई प्रशंसा पनि गरे । आन्दोलनका क्रममा क्षति भोगेका व्यवसायीलाई तत्काल सहुलियत उपलब्ध गराएको र भन्सार मूल्यांकनदेखि करदाता प्रमाणपत्रका सेवाहरू ‘फेसलेस’ प्रणालीमार्फत अनलाइनबाट उपलब्ध गराउनु सकारात्मक कदम भएको टिप्पणी गरे ।

ढकालका अनुसार बैंकहरूमा हाल ११ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ, तर लगानीका परियोजनाहरू अघि नबढ्दा लागत बढ्ने र आयोजना ‘बेवारिसे’ बन्ने अवस्था छ । त्यसैले सरकारले अनुकूल लगानी वातावरण बनाउन तुरुन्तै पहल गर्नुपर्ने उनको माग थियो ।यस्तै उनले धितोपत्र बोर्डले लामो समयदेखि जलविद्युत् आयोजनाहरूलाई आईपीओ जारी गर्न अनुमति नदिएर अनावश्यक अवरोध सिर्जना गरेको आरोप लगाए । बोर्डमा देखिएको समस्या तत्काल समाधान गरी पूँजी बजारलाई सहज बनाउने जिम्मा अर्थमन्त्रीले लिनुपर्नेमा उनको जोड थियो ।

टीयू मैदान वरपर भिडभाड नगर्न प्रहरीको अनुरोध

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजबाट सुरु हुँदैछ । उद्घाटन खेलको टिकट बिक्री भैसकेको हुनाले टिकट नभएकाहरूलाई मैदानमा नजान प्रहरीले आग्रह गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले भनेको छ,“आज मिति २०८२ मंसिर १ गते कीर्तिपुरस्थित (टीयू) खेल मैदानमा हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको आजको सम्पूर्ण टिकटहरू सोल्ड आउट भइसकेको जानकारी प्राप्त भएकोले टिकट नभएका महानुभावहरू उक्त स्थान वरपर भीडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ,” जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको सूचनामा उल्लेख छ ।

त्रिवि क्रिकेट मैदानमा सोमबार अपराह्न ४ बजेबाट उद्घाटन खेलमा सुरु हुँदैछ । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजले प्रतिस्पर्धा गर्नेछन् । ९ खेल दिउँसो र २३ खेल डे–नाइटमा हुने क्यानले जनाएको छ । प्रतियोगिता मङ्सिर २७ सम्म चल्नेछ ।

कैलालीको ‘टीकापुर पार्क’ : प्रचार नहुँदा ओझेलमा (फोटोफिचर)

कैलाली। कैलालीको टीकापुरमा २०२८ सालमा स्थापना गरिएको टीकापुर पार्कमा घुम्न र हेर्नलायक धेरै कुरा छन् ।

पार्कमा महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यान, वीरेन्द्र विश्राम वाटिका लगायतका संरचना छन् । त्यसबेलाका राजाहरू यहाँ आएर बसेका कारण उनीहरूकै नाममा संरचना बनाइएको छ ।

टीकापुर बजारदेखि दक्षिणपूर्वी क्षेत्रमा रहेको यो पार्कमा तत्कालीन राजा महेन्द्रले एक महिना बसेर स्वास्थ्य लाभ गरेका थिए ।

राजालाई आराम गर्नको लागि रातारात काठको घर बनाइएको थियो । त्यही घर महेन्द्र आरोग्य गृह हो । राजा महेन्द्रले त्यसबेला टीकापुरबाटै राजकाज चलाएका थिए । पछि राजा वीरेन्द्रका लागि पनि वीरेन्द्र विश्राम बाटिका बनाइयो ।

२०२८ सालमा भौतिक योजना तथा निर्माण मन्त्रालय अन्तर्गत टीकापुर विकास समिति स्थापना भयो । समितिलाई १ सय ७३ बिघासहित सहरी विकास गर्ने अधिकार सरकारले दिएको थियो । पार्क अहिले ८५ बिघामा फैलिएको छ । जसमध्ये बंगला क्षेत्र, नर्सरी र बगैँचाले करिब १३ बिघा ओगटेको छ ।

पार्कमा रहेका गुलाब र पार्कसँगैको कर्णाली नदीले पनि पर्यटकलाई लोभ्याइरहेको छ । कर्णाली किनारमा अवस्थित गुलाबको बगैँचाका रुपमा परिचित टीकापुर पार्कमा वनभोज खानेहरूको पनि भीड लाग्छ । यो पार्कको नौ बिगाहा क्षेत्रफलमा फलफूल र फूलको बगैँचा छ ।

पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्तर्गत बर्दिया र कैलाली जोड्ने राजापुरस्थित सतिघाटमा पुल निर्माण भएको छ । बर्दिया सदरमुकाम गुलरियाबाट ३८ किलोमिटर पश्चिममा राजापुर र सतिघाट जोड्ने पुल पर्दछ । यो पुल सञ्चालन भएपछि टीकापुर पुग्ने पर्यटक उल्लेख्य बढ्ने अपेक्षा गरिएको थियो । तर त्यस अनुसार बढ्न सकेका छैनन् ।

टीकापुर पार्क नेपालकै सबैभन्दा ठूलो मानव निर्मित पार्क हो । यहाँ घुम्नका लागि अनेक संरचना छन् । तैपनि अपेक्षाकृत रुपमा यहाँ पर्यटक बढ्न सकेका भने छैनन् । यसका लागि प्रभावकारी प्रचारप्रसार हुन नसकेको स्थानीय सरोकारवालाको बुझाइ छ ।

सबैभन्दा बढी कर तिर्ने मीनबहादुर गुरूङ भन्छन्–भाटभटेनी जले पनि, मनोबल जलेन

काठमाडौं । देशमा चार वर्षदेखि वस्तु व्यापारतर्फ सबैभन्दा धेरै कर तिर्ने व्यवसायीको हैसियत कायम राख्दै आएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङले आफ्नो व्यवसायिक जीवन निरन्तर ‘परीक्षाको मैदान’ मा अघि बढिरहेको बताएका छन् । कर दिवसका दिन सरकारले सम्मानित गरेपछि सार्वजनिक रूपमा बोल्दै गुरूङले भाटभटेनीमा लागेको भीषण आगलागीलाई उनले दुःख पनि, सिकाइ पनि भएको पीडाका रूपमा लिएको बताए ।

सञ्चालक गुरूङले विगतमा आफूमाथि आइलागेका आरोप र घटनालाई एक–एक गर्दै स्मरण गरेका छन् । ‘मलाई कहिले कीर्ते भन्छ, कहिले जेल हालिन्छ, कहिले पसल जलाइन्छ । यो सबैले मलाई ‘स्वीट पेन’ दिएको छ’ उनले भने । त्यो पीडामै उनी अझै परिपक्व, अझै जुझारु बनेको अनुभव सुनाउँछन् ।

गुरूङले आफ्नो व्यवसायले राज्यलाई तिरेको करपछि बाँकी नाफाबाट समाजलाई योगदान दिने परम्परा अगाडि बढाएको दाबी गरेका छन् । भगवान कोइराला राष्ट्रिय हृदय केन्द्र, टिचिङ अस्पताल लगायतका स्वास्थ्य संस्थामा भाटभटेनीले पुर्‍याएको सहयोगको प्रसंगसहित उनले भने, ‘स्वास्थ्य क्षेत्रलाई सहयोग गर्नु नै मेरो सन्तोष हो ।’ मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको समय स्मरण गर्दै उनले आफू अत्यन्त उत्साहित भएको बताएका छन् । तर, पछि ‘अरूले गरेको गल्तीको सजाय’ आफूले भोग्नुपरेको गुनासो पनि राखे ।

‘त्यतिबेला कारोबारले हर्जाना तिर्न सक्ने अवस्था थिएन । त्यसैले म अझै कडा परिश्रमतर्फ उन्मुख भएँ’, उनले भने । त्यसपछि उनले गरेको मेहनतले नै भाटभटेनीलाई नयाँ उचाइमा पुर्‍याएको बताउँदै गुरूङले भने, ‘पहिले २ अर्बको कारोबार हुन्थ्यो, अहिले भने ३३ अर्बमा पुगेका छौं ।’ भदौ २३–२४ मा भएको आगलागीलाई गुरूङले जीवनकै सबैभन्दा ठूलो क्षतिमध्ये एक बताएका छन् । ‘विगतमा आन्दोलनले वर्षौं–वर्ष रोकावट गर्थ्याे , यसपालि एकै दिनमा ठूलो क्षति भयो’, उनले स्मरण गरे । बीमाले पनि सबै क्षति नधोएको उनले बताए । तर ठूलो नोक्सानीपछि उनी एक दिन पनि नथाकी उठे । ‘म डुब्दा बैंक पनि डुब्छ । हजारौँलाई रोजगारी चाहिन्छ । त्यसैले म उठ्नै पर्छ’, उनले भने ।

 

 

ट्रकसँग अटो ठोकिँदा महिलाको मृत्यु

झापा । ट्रकसँग अटो ठोकिँदा झापामा एक महिलाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१ गैरिया चोक नजिक भएको ‘अटो’ दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो । गत कात्तिक २१ गते साँझ गैरीया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे १–ह ५७५४ नं को अटो धानलोड गरिरहेको प्रदेश १–०२–००१ ख ९०९३ नं को मिनी ट्रकको पछाडि ठक्कर दिएको थियो ।

दुर्घटनामा अटो चालक गौरादह–१ का ४८ वर्षीय मोहम्मद डोमा घाइते भएका थिए । उनको बायाँ हातमा चोट लागेको प्रहरी जनाएको छ । सोही अटोमा सवार उनकी ३७ वर्षीया श्रीमती खातुन गम्भीर घाइते भएको र उपचारका क्रममा गए राति जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईपीएस भाषा परीक्षा आजदेखि

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिएकाको भाषा परीक्षा आज (सोमबार) देखि सुरु हुँदैछ । पहिलो चरणमा सोमबार उत्पादन क्षेत्रमा काम गर्न आवेदन दिएकाहरुको परीक्षा हुन लागेको हो । उत्पादन क्षेत्रमा ६७ हजार जनाले भाषा परीक्षाको लागि आवेदन दिएका ईपीएस शाखाले जनाएको छ । सन् २०२५ मा ईपीएसमार्फत् कोरिया जानको लागि एकलाख दुई हजार ५१५ परीक्षार्थीले आवेदन दिएका छन् ।

दोस्रो चरणमा कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिएकाहरुको परीक्षा हुने बताइएको छ । कृषि तथा पशुपालन क्षेत्रमा ३५ हजार जनाले आवेदन दिएका छन् । दक्षिण कोरिया जान रोस्टरमा रहेका युवाहरुले पहिला आफूहरूलाई कोरिया लैजानुपर्ने माग राख्दै परीक्षा नगर्न अनुरोध गर्दै आएका थिए । वैदेशिक रोजगार विभागको ईपीएस शाखाले आजदेखि सुरु भएको भाषा परीक्षा दुई महिनाभित्र सक्ने जनाएको छ ।

सडक निर्माणका २५ रुग्ण ठेक्का तोडियो

काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले २५ रुग्ण ठेक्का तोडेको छ । आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८०मा सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका रुग्ण ठेक्का आज (सोमबार) तोडिएको हो । ठेक्का तोड्ने निर्णय गर्नुअघि ११ कात्तिकमा ठेक्का किन नतोड्ने ? भन्दै सम्बन्धित २५ निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको कार्यालय प्रमुख सुवोध देवकोटाले जानकारी दिएका छन् ।

कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौती बापतको रकम, पेश्की जमानत जफत र पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने देवकोटाले बताए । निर्माण व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुने निर्देशन समेत दिइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । त्यसपछि सडक विभाग मातहतका कार्यालय रुग्ण ठेक्का तोड्नका लागि प्रक्रिया अगाडि बढाइएका थिए ।

मन्त्री पुनको चेतावनी : दल दर्ताको होडबाजी आफैलाई पुर्ने खाल्डो, जेनजी आन्दोलनको लक्ष्य तुहिन्छ

काठमाडौं । जेनजी आन्दोलनबाट देशमा वैकल्पिक राजनीतिक संस्कारको आशा देखिँदै गर्दा आन्दोलनकै अगुवाहरु दल दर्ताको ‘होडबाजी’ मा’ लागेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि व्यक्त गरेका छन् ।

आन्दोलन सफल पार्न नेतृत्वकर्ताहरु एकता र शुद्ध उद्देश्यमा टिकिरहनु पर्ने बेलामा जेनजीभित्रकै समूह छुट्टाछुट्टै पार्टी दर्ता गराउन लाइन लागेपछि उनले सामाजिक सञ्जालमार्फत खुलेर असन्तुष्टि व्यक्त गरेका हुन् । पुनले सोमबार फेसबुकमा दल दर्तासम्बन्धी समाचार शेयर गर्दै भनेका छन्, ‘हेर्नुहोस्—१२३ दल दर्ता भइसके र ३२ दर्ता हुने प्रक्रियामा रे ! जेनजीहरू आफैलाई पुर्ने खाल्डो आफै खन्दैछन् ।’

उनका अनुसार सानोतिनो विषयमा नमिलेर छुट्टाछुट्टै पार्टी खोल्ने प्रवृत्ति न केवल आन्दोलनको मूल लक्ष्यसँग विश्वासघात हो, यो व्यवहारले फेरि पुरानै राजनीतिका ‘फटाहा’ चरित्रलाई सत्ता कब्जा गर्ने ढोका खोलिदिन्छ ।

पुनले चेतावनी दिएका छन्, ‘यस्तै ताल चलिरह्यो भने पुरानै भ्रष्ट, लोभी र जनता ठग्ने नेताहरूले फेरि शासन समाउने छन् । जेनजी आन्दोलनले लक्ष्य गुमाउँछ, अहिलेको मन्त्रिमण्डलले गरेका सकारात्मक निर्णयहरू पनि ती पार्टीहरू पुनः निर्वाचित भए उल्ट्याई दिनेछन् ।’

निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणासँगै हालसम्म १२३ दल दर्ता भइसकेका छन् भने ३२ दल दर्ता प्रक्रियामा छन् । यिनैमध्ये कतिपय पार्टी जेनजी नेतृत्वका हातबाट जन्मिएका हुन्, जसले मन्त्री पुनलाई झनै चिन्तित बनाएको छ । जेनजी आन्दोलन एकीकृत उद्देश्य वा टुक्रिएको महत्वाकांक्षा-आगामी निर्वाचनले यसको उत्तर दिनेछ ।

 

नेपालको क्रिकेटले उज्यालो मैदानबाट अझ उज्यालो भविष्य लेख्नेछ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले कीर्तिपुर क्रिकेट रंगशालामा प्यारापेट र फ्लडलाइटको सफल सञ्चालनलाई नेपालको खेलकुद इतिहासमा एउटा महत्वपूर्ण कोशेढुङ्गाका रूपमा व्याख्या गरेका छन् ।

आइतबार संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघलाई रंगशाला हस्तान्तरण गरिएसँगै उनले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका हुन् ।

मन्त्री घिसिङले आफ्नो फेसबुक स्टाटसमा भनेका छन्, ‘फ्लडलाइटको उज्यालोसँगै– केवल रंगशाला मात्र उज्यालो भएको होइन, नेपालको खेलकुदको भविष्य पनि उज्यालो हुँदैछ ! खेलकुदले एकातर्फ युवाहरूलाई अनुशासित र ऊर्जाशील बनाउँदै देशलाई एकतामा बाँध्ने क्षमता राख्दछ भने अर्कोतर्फ देशको आर्थिक विकास र अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।’

शहरी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गरिसकेको र दोस्रो चरणका लागि करिब १० अर्ब रुपैयाँ बजेट समेत सुनिश्चित गरिसकेको जानकारी मन्त्री घिसिङले दिएका छन् । उनले आगामी ३ वर्षभित्र सम्पूर्ण निर्माण सकिएपछि नेपालले पूर्ण सुविधासम्पन्न अन्तर्राष्ट्रिय मापदण्डको भव्य क्रिकेट रंगशाला प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।

मन्त्री घिसिङले पहिलो चरणको निर्माणलाई सफल बनाउन योगदान पुर्‍याउने आयोजना व्यवस्थापन, परामर्शदाता, निर्माण व्यवसायी तथा सम्पूर्ण सरोकारवालाहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् । साथै, सोमबारबाट सुरु हुने एनपिएलका सबै सहभागी खेलाडी, टिम तथा क्रिकेटप्रेमीहरूलाई हार्दिक बधाई तथा शुभकामना दिँदै उनले कीर्तिपुरको यो उज्यालो मैदानबाट नेपालको क्रिकेटले अझ उज्यालो भविष्य लेख्ने दृढ आशा व्यक्त गरेका छन् ।

 

एनपीएल दोस्रो संस्करण आजबाट : जनकपुर–काठमाडौं भिड्दै

काठमाडौं । विश्व फ्रेन्चाइज क्रिकेटको बढ्दो क्रेजबीच नेपाल प्रिमियर लिग (एनपीएल) आज (सोमबार) देखि काठमाडौंमा भव्य रूपमा दोस्रो सिजन सुरु हुँदैछ । पहिलो सिजनमै विश्वका शीर्ष पाँच मूल्यवान लिगमध्ये स्थान बनाएर सबैलाई चकित पारेको एनपीएल यस पटक कृत्रिम प्रकाश (फ्लडलाइट), आकर्षक रङ्गशाला र विश्वस्तरीय स्टार खेलाडीहरूका कारण झनै चम्किएको छ ।

क्यानका सचिव एवं संयोजक पारस खड्काले पहिलो संस्करणको सफलता अझ उचाइमा पुर्‍याउने लक्ष्य घोषणा गर्दै सबै पक्षको सहयोगले यो सिजन ऐतिहासिक बन्ने विश्वास व्यक्त गरेका छन् । मंसिर २७ मा उपाधि भिडन्तसँगै समापन हुने लिगमा सिंगल–राउन्ड रोबिनदेखि इलिमिनेटर र क्वालिफायरसम्म गरी ३२ खेल समावेश छन् ।

आठ फ्रेन्चाइज टिमले यसपटक पनि विश्वका चर्चित क्रिकेटर भित्र्याएका छन् । फाफ डुप्लेसिस, जेसन रोय, क्रिस लिन, इमरान ताहिर, वायन पार्नेलसहित करिब ४० सुपरस्टार खेलाडीले एनपीएललाई ग्लोबल शो–स्टप बनाएका छन्। पाँच टिममा विदेशी प्रशिक्षकको उपस्थितिले प्रतिष्पर्धा झन् रोचक बनेको छ ।

च्याम्पियन जनकपुर बोल्ट्स–शिवनारायण चन्दरपल
विराटनगर किङ्स–पुबुदु दसनायके
काठमाडौँ गोर्खाज–मोन्टी देसाई
पोखरा एभेन्जर्स–राजीव कुमार
लुम्बिनी लायन्स–टिनु योहान्ना
खड्काका अनुसार विश्वस्तरीय हस्तीसितको सहकार्यले नेपाली खेलाडीहरूलाई खेलभित्र–बाहिर दुवै क्षेत्रमा महत्वपूर्ण अनुभव दिलाउनेछ ।
एनपीएल नेपाली खेल क्षेत्रकै सबैभन्दा ठूलो बजेटको लिग हो । गत वर्ष एक अर्बभन्दा बढी कारोबार गरेको लिगको ब्रान्ड भ्यालु यस पटक दुई अर्ब नाघ्ने क्यानको लक्ष्य छ ।

मार्की खेलाडी–२० लाख
अन्य घरेलु खेलाडी– २–१५ लाख
आइकोनिक खेलाडी–आकर्षक रकम
त्यसैगरी फ्रेन्चाइजहरूले प्रचारमा पनि ठूलै लगानी गरेका छन् ।
फ्लडलाइट–तयार रङ्गशाला, नेपालमा पहिलो रात्रीकालीन लिग

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सरकारले क्यानसँग मिलेर गरेको स्तरोन्नतिपछि नेपालमा पहिलो पटक फ्लडलाइटमा क्रिकेट खेलिँदैछ । ९ खेल दिउँसो र २३ खेल रातमा हुनेछन् । नौ हजार पाँच सय टिकट बिक्री हुने बताए पनि दर्शक क्षमता १३ हजार छ, जसले वातावरण झन् विद्युतीय बनाउने अपेक्षा छ ।

आज साँझ ४ बजे हुने उद्घाटन खेल गत वर्षका च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ । गत सिजनमा जनकपुरले काठमाडौँलाई पाँच विकेटले पराजित गरेको अवस्थामा दुवै टिम आज नयाँ अध्याय लेख्न मैदान उत्रिँदैछन्ए-क पक्ष उपाधि रक्षा अभियानमा, अर्को पक्ष बदला अभियानमा ।

एक लाख २० हजार म्यादी प्रहरी भर्नाको तयारी

काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर सरकारले सुरक्षा तयारी अघि बढाएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको उच्चस्तरीय सुरक्षा समितिको बैठकले देशभर करिब ३ लाख १४ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।

बैठकले शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गर्न आवश्यक जनशक्ति व्यवस्थापनलाई अनुमोदन गर्दै १ लाख २० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय समेत गरेको छ । स्रोतका अनुसार निर्वाचन सुरक्षार्थ नेपाली सेनाका करिब ७९ हजार, नेपाल प्रहरीका करिब ७२ हजार, सशस्त्र प्रहरीका ३३ हजार र म्यादी प्रहरी १ लाख ३० हजार जनशक्ति परिचालन गरिनेछ ।

सुरक्षा योजना अनुसार, निर्वाचन आयोगबाट मतदान स्थल र केन्द्रको अन्तिम सूची आएपछि यो संख्यामा आवश्यक परे केही परिवर्तन हुन सक्ने बताइएको छ । सरकारका अनुसार, यस पटकको निर्वाचन ‘उच्च सुरक्षा सतर्कता’ सहित सञ्चालन हुनेछ र सुरक्षाकर्मीहरू मतदान केन्द्रदेखि संवेदनशील क्षेत्रसम्म तहगत रूपमा परिचालन गरिने छन् ।

नेपाल ट्रष्टका पूर्व सचिव कार्की पक्राउ

काठमाडौं । नेपाल ट्रष्टका पूर्व सचिव अर्जुन कार्कीलाई पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कार्कीलाई आइतबार साँझ पक्राउ गरेको एआईजी मनोज केसीले जानकारी दिए । दरबारमार्गस्थित ट्रष्टको जग्गा लिज सम्झौताबारे सीआईबीले अनुसन्धान गरिरहेको छ ।

यसअघि तत्कालीन सचिव लेखबहादुर कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

 

 

राष्ट्रिय सभाको उम्मेदवारी दर्ता पुस २३ गते

काठमाडौं । राष्ट्रिय निर्वाचनका लागि आगामी पुस २३ गते उम्मेदवारी मनोनयन दर्ताको कार्यसूची तय भएको छ । निर्वाचन आयोगले आइतबार निर्वाचनसम्बन्धी निर्णय गर्दै जानकारी दिएको हो ।

आगामी फागुनमा कार्यकाल सकिएर १९ जना राष्ट्रिय सभा सदस्यहरू बिदा हुँदैछन् । त्यसमध्ये १८ पदका लागि निर्वाचन हुनेछ भने एक जना राष्ट्रपतिबाट मनोनित सांसद बामदेव गौतमको कार्यकाल सकिँदैछ । राष्ट्रपतिबाट मनोनित सांसदको कार्यकाल सकिएपछि राष्ट्रपतिले अर्को सदस्य मनोनित गर्छन् ।

रिक्त हुने १८ स्थानका लागि चुनाव गर्ने तयारीमा सरकार जुटेको हो । आगामी फागुनमा कार्यकाल सकिएर बिदा हुने सांसदहरूमा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद छन् ।

आउँदो फागुनमा बिदा हुने एमालेका सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसी छन्। बिदा हुने माओवादी सांसदहरूको संख्या ७ छ ।

जसमा गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन् । एकीकृत समाजवदीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको कार्यकाल पनि आगामी फागुनमा सकिने छ ।

प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता माघ ६ गते

काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आगामी माघ ६ गते हुने भएको छ । तोकिएको निर्वाचन कार्यतालिका अनुसार सोही दिन उम्मेदवारले आवश्यक कागजातसहित मनोनयन दर्ता गर्ने निर्वाचन आयोगले निर्णय गरेको हो ।

निर्वाचन आयोगले सबै राजनीतिक दल, स्वतन्त्र उम्मेदवार तथा नागरिकलाई निर्वाचन आचारसंहिता पालनासहित निर्धारित स्थानबाटै मनोनयन दर्ता गर्न आह्वान गरेको छ ।

आगामी दिनमा निर्वाचन अभियान, मतदाता शिक्षा, मतदान केन्द्र निर्धारणलगायतका कार्यक्रम क्रमशः अघि बढाइने आयोगले जनाएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । यो सरकारले फागुनमा चुनाव गर्ने म्याण्डेट पाएको छ ।

फेसबुकमा परपुरुषसँग कुरा गरेको आरोपमा श्रीमतीको हत्या

रुपन्देही । रुपन्देहीमा एक युवतीको हत्या प्रकरणले ठूलो चासो पैदा गरेको छ । सामाजिक सञ्जाल प्रयोग गर्ने विषयमा झगडा हुँदै आएको पारिवारिक विवादले अन्ततः ज्यानै जानेस्थितिमा पुगेको प्रकरणमा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

बागलुङ निसीखोला गाउँपालिका–६ का ३२ वर्षीय वीरबहादुर कुँवर (विजय) लाई रूपन्देही प्रहरीले बुटवल बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार उनी कार्तिक २८ गते साँझ लुकिछिपी भाग्ने तयारीमा रहेको अवस्थामा पक्राउ परेका हुन् ।

कार्तिक २७ गते बिहान सिद्धार्थनगर नगरपालिका–८, लुम्बिनी गेट नजिक रहेको होटल ‘लुम्बिनी गेट’ को स्टाफ क्वार्टरभित्र २० वर्षीया मेलिना परियार मृत भेटिएकी थिइन् । होटलमा काम गर्दै आएकी मेलिनाको घटनास्थलमै गरिएको प्रारम्भिक अनुसन्धानले उनको मृत्युलाई ‘कर्तव्य गरी हत्या’ (हत्या गर्ने नियत बिना समेत कर्तव्यवश हुने हत्या) को श्रेणीमा पर्ने देखाएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा मेलिना र उनका श्रीमान वीरबहादुरबीच सामाजिक सञ्जाल प्रयोग गर्ने विषयमा लामो समयदेखि विवाद रहँदै आएको खुलेको छ । प्रहरीका अनुसार अभियुक्तले मेलिना अन्य पुरुषसँग फेसबुकमा कुरा गर्छिन् भन्ने शंकाका कारण बारम्बार झगडा गरिरहने गरेका थिए । घटनाको दिन पनि सोही विषयमा विवाद चर्किएको र मादक पदार्थ सेवन गरेको अवस्थामै कुँवरले श्रीमतीमाथि कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरिएको छ ।

घटना भएको केही समयपछि वीरबहादुर घटनास्थलबाट फरार भएका थिए । विभिन्न सुराकी र प्राविधिक विवरणको आधारमा प्रहरीले खोजी तीव्र बनाएर अन्ततः उनलाई बुटवल बसपार्क क्षेत्रमा भेटेर पक्राउ गरेको हो । प्रहरीका सूचना अधिकारी सुरज कार्कीका अनुसार पक्राउ परेका कुँवरलाई विस्तृत अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि हिरासतमा राखिएको छ । घटनाको सबै पक्ष पुष्टि गर्न थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

निर्वाचनमा सेना परिचालन गर्न सिफारिस

काठमाडौं । गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ पारित गरेको छ । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार बैठकले उक्त निर्णय पारित गरेको हो । मुख्यतः निर्वाचनको तयारीमा केन्द्रित रहेको केन्द्रीय सुरक्षा समितिले पारित गर्दै निर्वाचन सुरक्षामा ध्यान दिएको छ ।

यसअघि ९ असोजको केन्द्रीय सुरक्षा समिति बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ तर्जुमा गर्नका लागि कार्यदल गठन गरेको थियो । यो कार्यदलमा सुरक्षा निकायमा प्रतिनिधिहरू समेत थिए । यसको संयोजक सहसचिव काफ्ले थिए ।

काफ्लेले बुझाएको उक्त प्रतिवेदन गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिले पास गरेको हो । यो सुरक्षा योजनामा निर्वाचनको अवधिमा सुरक्षा निकायहरू कसरी परिचालन हुने भन्नेबारे उल्लेख छ । सुरक्षाका प्लानलाई तीन तहमा विभाजन गरिएको छ ।
निर्वाचन पूर्वको अवधि, निर्वाचनको अवधि र निर्वाचन पश्चातको अवधि गरी तीन चरणमा सुरक्षा बाँडिएको छ ।

उक्त अवधिमा कसरी कस्तो सुरक्षा योजनामा काम गर्ने भन्ने उल्लेख गरिएको छ । यसका साथै बैठकले नेपाली सेना परिचालनको प्रस्ताव गर्ने निर्णय समेत गरेको छ । एकीकृत निर्वाचन सुरक्षा योजनामा सेना परिचालनको विषय समेत उल्लेख भएकाले सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद् समक्ष पेश गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता काफ्लेले बताए । यसका लागि रक्षा मन्त्रालयमा पठाउने रक्षा मन्त्रालयले राष्ट्रिय सुरक्षा परिषद्मा पेश गर्ने छ । त्यसपछि बल्ल सेना परिचालन हुनेछ ।

त्यसैगरी ९ मंसिर प्रदेशस्तरीय सुरक्षा गोष्ठि सुरु गर्ने निर्णय भएको छ । लुम्बिनी प्रदेशबाट सुरक्षा गोष्ठी सुरु हुने बताइएको छ । निर्वाचन लक्षित नै यो सुरक्षा गोष्ठि हुने बताइएको छ । सुरक्षा चुनौती र निर्वाचन तयारीबारे छलफल हुने बताइएको छ । हिंसा भड्काउने समूहहरूलाई निस्तेज गर्ने र त्यसका लागि कडाइका साथ कारबाही प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।

खानेपानीका तत्कालीन हाकिम यादवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका तत्कालीन प्रमुख किशोर यादवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नम्बर –४ कलैया बाराका तत्कालीन डिभिजन प्रमुख यादव र लेखापाल प्रदिप दास, सान्दर्भिक मिडिया नेटवर्क प्रालि तथा उक्त कम्पनीको प्रबन्धक निशान्त सिग्देल, प्रभाव पब्लिकेशन प्रालिको बजार प्रबन्धक सन्तोषराज खरेलविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध जनही ३ लाख १६ हजार ५७० रुपैयाँ बिगो माग गरिएको छ ।

नेकपालाई सबै पुस्ताको साझा बनाउँछौं : झलनाथ खनाल

काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई सबै पुस्ताले अपनाएको साझा राजनीतिक घर बनाउने अभियान सुरु भएको घोषणा गरेका छन् । पेरिडाँडामा आइतबार सम्पन्न पूर्व पदाधिकारीहरूको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले युवा सहभागिता, संगठन मजबुतीकरण र कम्युनिष्ट एकतालाई नै पार्टीको प्रमुख कार्यदिशा बनाइने स्पष्ट पारे ।

खनालले अबको नेकपा केवल पूर्व–नेतृत्व केन्द्रित नभई किशोरदेखि वृद्धसम्म सबैलाई समेट्ने ‘समग्र पुस्ताको पार्टी’ का रूपमा अघि बढ्ने दाबी गरे। यसका लागि प्रदेश–प्रदेशमा सन्देश सभाहरू आयोजना गर्दै आधारस्तरमा सक्रियता वृद्धि गरिने उनको भनाइ छ ।

‘नेपाली विशेषताको समाजवादतर्फ पार्टीलाई उन्मुख गराउने हाम्रो अर्जुनदृष्टि हो । यो एकता कसैको विरोधमा होइन, आम जनतालाई जागृत र संगठित गर्दै समाजवादको बाटो पहिल्याउने अभियान हो’, खनालले भने ।

उनका अनुसार नेकपाभित्र मात्र होइन, बाहिरका केही राजनीतिक दलहरूसँग पनि सम्भावित एकताको विषयमा निरन्तर संवाद भइरहेको छ । उनले एकतालाई ‘राजनीतिक प्रतिष्पर्धा’ होइन ‘आन्दोलन विस्तार’ का रूपमा व्याख्या गर्दै युवालाई प्रोत्साहन, जिम्मेवारी र नेतृत्वमा उन्नत बनाउने कार्यसूचीलाई सर्वोच्च प्राथमिकता दिने प्रतिवद्धता जनाए ।

खनालले नेपाली विशेषतामा आधारित समाजवाद निर्माण नै दीर्घकालीन लक्ष्य रहेको उल्लेख गर्दै, भने, ‘अबको कम्युनिष्ट पार्टी पुस्तान्तरसँगै विचारको निरन्तरता सुनिश्चित गर्ने संरचना निर्माणतर्फ अघि बढ्छ ।’ नेकपाको बहुपुस्तीय सहभागिता, संगठन विस्तार र एकतामुखी रणनीतिलाई लिएर अबको केही समय पार्टीभित्र र बाहिर दुबै क्षेत्रमा राजनीतिक चहचल बढ्ने संकेत खनालका अभिव्यक्तिबाट देखिन्छ ।

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा यादव

देवदह (रुपन्देही) । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा राम अवतार यादव निर्वाचित भएका छन् । आज रुपन्देहीको भैरहवामा सम्पन्न अधिवेशनले यादवको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

रुपन्देहीको सियारी गाउँपालिका–५ निवासी यादवले यसअघि पार्टीको प्रदेश कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनी जसपा नेपाल रुपन्देहीको पूर्वजिल्ला अध्यक्ष पनि हुन् ।

जसपा नेपाल केन्द्रीय निर्वाचन आयोगका सचिव ई. मनोज कुमार वर्माका अनुसार प्रदेश समितिको उपाध्यक्षमा चन्द्रधामा रैदास, मोहम्मद असलम खान र रेनु सिंह निर्वाचित भएका छन्। त्यस्तै सचिवमा शिव कुमार चौधरी (थारु), इना मुल्लाह फकिर, शिवपुजन यादव र कोषाध्यक्षमा बच्चुलाल केवट निर्वाचित भएका हुन् ।

एकताको प्रथम लुम्बिनी प्रदेश अधिवेशन–२०८२ को शनिबार पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले उद्घाटन गरेको केन्द्रीय सदस्य विद्या प्रसाद यादवले बताएका छन् ।

नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले लागुऔषध खैरो हिरोइन ओसारपसार गरी बिक्री गर्ने चार जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी नायब निरीक्षक विचित्र मगरसहितको टोलीले भारतबाट खैरो हिरोइन ल्याएर राजधानी काठमाडौँलाई केन्द्र बनाई बिक्री दुई भारतीय नागरिकसहित चार जनालार्ई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

सप्तरी राजविराजका ३९ वर्षीय रविआनन्द देव, भारतको हरिपुरका २३ वर्षीय राजा कुमार, भारतको स्वस्तिकनगरका २१ वर्षीय देवेन्द्रकुमार शाह र मोरङका २९ वर्षीय पुष्प मगरलाई पक्राउ गरी सार्वजनिक गरिएको ब्युरोका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए । विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा दुई भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरिएको उनले बताएका छन्।

सप्तरी राजविराजका देवको काठमाडौँ महानगरपालिका–१३ स्थित पनेरुगाउँको कोठाबाट २७२ ग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ । भारतीय नागरिक राजा र देवेन्द्रले स्कर्पियो गाडीमा भारतबाट खैरो हिरोइन ल्याएर बिक्री गर्न लागेको अवस्थामा चन्द्रागिरि नगरपालिकास्थित ढुङ्गे अड्डाबाट ५९२ ग्राम र मगरको साथबाट कोटेश्वर क्षेत्रबाट ९३ ग्राम बरामद गरिएको सहप्रवक्ता यादवले जानकारी दिए ।

खैरो हिरोइन भारतबाट ल्याएर काठमाडौँमा केन्द्र बनाई कारोबार गर्ने गरेको अनुसन्धानमा खुलेको उनले जानकारी दिए । पक्राउ परेका व्यक्तिमाथि लागुऔषध (नियन्त्रण), ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको सहप्रवक्ता यादवले जानकारी दिएका छन् ।

विशेष महाधिवेशन नभए महामन्त्रीले राजीनामा दिने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर विधानसम्मत रूपमा उठेको विशेष महाधिवेशनको मागलाई बेवास्ता गर्न नसकिने चेतावनी दिएका छन् ।

उनले महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहित गरेको लिखित माग विपरीत पार्टीले निर्णय गरे आफू महामन्त्री पदबाट राजीनामा गर्न तयार रहेको स्पष्ट सन्देश दिएको स्रोतले जनाएको छ । शुक्रबार सिंगापुरबाट फर्केका देउवालाई भेट्न शर्मा आइतबार मध्यान्ह हात्तीसार पुगेका थिए। झण्डै डेढ घण्टा चलेको भेटमा शर्माले विशेष महाधिवेशन पार्टी विधानले व्यवस्था गरेको बाध्यकारी प्रक्रिया भएकाले त्यसलाई बेवास्ता गर्न नहुने धारणा राखेका थिए । देउवालाई भेटेर फर्केपछि उनले केही सीमित नेताहरूसँग पनि भेटमा राखेको आफ्नो धारणा साझा गरेका छन्।

शर्माले विशेष महाधिवेशन संविधानसम्मत माग भएको बताउँदै भनेका छन्, ‘संसद् विघटन संविधानसम्मत भएन भनेको कांग्रेसले हो । अब विधानले दिएको अधिकारभित्र बसेर माग गरिएको विशेष महाधिवेशनलाई बुझाइएन भने हामी आफूले भनेको कुरामै टिक्न सक्दैनौँ ।’

उनका अनुसार विशेष महाधिवेशनका मागविपरीत पार्टीले अन्य निर्णय गरे निर्णय लागू भएको मितिदेखि नै आफू महामन्त्री पदबाट हट्ने जानकारी देउवालाई गराइसकेका छन् । उनले राखेको धारणा कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई पनि बताइए पनि कांग्रेस नेताहरूले पुष्टि गरेका छन् ।

विधानको धारा १७(२) का अनुसार ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेर आग्रह गरे विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । यही व्यवस्था अनुसार ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर बुझाइसकेका छन् । असोज २९ मा सो लिखित माग पेश भएकाले पुस २८ भित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने बाध्यकारी प्रावधान रहेको छ ।

भोलिदेखि हुने एनपिएल खेल कान्तिपुर म्याक्सबाट लाइभ हुने

काठमाडौँ । भोलि अर्थात् (मंसिर १ गते) देखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको खेल  कान्तिपुर म्याक्सबाट लाइभ हुने भएको छ।

नेपाल भरिका दर्शकका लागि लाइभ कान्तिपुर म्याक्सबाट देखाउने भएको हो। त्यस्तै विदेशमा स्टार स्पोर्ट्सबाट लाइभ हुनेछ। इन्टरनेट प्रयोगक्ताका लागि डिश होम गोमा पैसा तिरेर हेर्न सकिनेछ।

यसपालि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रात्रीकालमा पनि खेल हुने भएको छ। नेपालमा पहिलो पटक फ्लडलाइटको मुनि खेल हुन लागेको हो।

हिमाको ८० प्रतिशत घरमा धारा जडान

जुम्ला । करिब ८० प्रतिशत घरधुरीमा धारा जडान गर्न जिल्लाको हिमा गाउँपालिका सफल भएको छ । ‘एक घर एक धारा’ नीतिका साथ कार्यान्वयनमा गएको सो पालिकाले क्रमशः सबै घरमा धारा जोड्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

गत आर्थिक वर्ष २०८१/८२ को प्रगति विवरण सार्वजनिक गर्ने क्रममा आज यहाँ आयोजित कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले ८० प्रतिशत घरधुरीमा धारा जडान गरिएको र बाँकीमा पनि गरिने जानकारी दिएका छन्। पालिकामा सञ्चालित विभिन्न योजनाबाट ‘एक घर एक धारा’ विस्तार गरिएको हो ।

करिब दुई हजार ३०२ घरधुरीमा ‘एक घर एक धारा’ को पहुँच पुगेको छ । शुद्ध खानेपानीको पूर्वाधार निर्माणका लागि गाउँपालिकाको सहकार्यमा ‘सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता(सुस्वा) आयोजना’ मार्फत खानेपानी विस्तार गरिएको अध्यक्ष लक्ष्मीबहादुर शाहीले जानकारी दिए ।

गतवर्ष सञ्चालन गरिएको गाउँमै निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट करिब ९७१ जनाले सेवा लिएको पालिकाले जनाएको छ । यसैगरी सामाजिक सुरक्षाभत्ता बैंकमार्फत वितरण गर्न थालिएको छ । ‘छोरीको सुरक्षा जीवनभरि’ को कार्यक्रमअन्तर्गत ५६ जनाको बैंक खाता खोलिएको पनि गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत बुढाका अनुसार बैंक सेवामार्फत ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता वितरण गर्ने नीतिअनुसार ४८८ जनाले सेवा लिएका छन् ।

गाउँपालिकाले गत आर्थिक वर्षमा करिब रु २६ लाख ४३ हजार आन्तरिक राजस्व सङ्कलन गरेको र विभिन्न शीर्षकका १०९ वटा योजना सम्पन्न गरेको अध्यक्ष शाहीले जानकारी दिएका छन् ।

सिधनियाघाटमा तीव्र गतिमा पक्की पुल निर्माण हुँदै

राँझा (बाँके)  । नेपालगञ्ज(बघौडा हुलाकी सडकअन्तर्गत डुडुवा गाउँपालिका-५ स्थित राप्ती नदीको सिधनियाघाटमा फराकिलो पक्की पुल निर्माणले गति लिएको छ ।

करिब ११ मिटर चौडाइ रहने पुल निर्माणले गति लिएपछि बाँकेको नरैनापुर र राप्तीसोनारीका बासिन्दालाई आवागमनमा सहज हुनेछ । हाल यहाँ साँघुरो पुल भएकाले सवारीसाधन पालो कुरेर नदी पार गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

राप्ती नदीमा दुई लेनको पुल निर्माण भएपछि नदी वारपार गर्न पालो कुर्नपर्ने बाध्यता अन्त्य हुने स्थानीय सोहनलाल यादवले बताएका छन् । पुल निर्माण धमाधम भइरहेकाले शीघ्र सम्पन्न भई आवागमन सहज हुने उनले विश्वास व्यक्त गरेका छन् ।

उक्त पुलको हालसम्म ५० प्रतिशतभन्दा बढी प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए । सम्झौता भएपछि करिब एक वर्ष पुलको डिजाइनमा समय लागेकाले केही ढिलाइ भएको बताउँदै उनले आगामी असारभित्र निर्माण सम्पन्न हुनेगरी काम भइरहेको जानकारी दिएका छन् ।

सिधनियाघाटमा करिब डेढ दशकअघि निर्माण भएको पुल साँघुरो भएपछि फराकिलो बनाउन थालिएको हो । विसं २०७९ माघ १० गते लुम्बिनी रौताह बन्धन भगवती जेभी काठमाडौँसँग ५३ महिनामा काम सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।

पुलको लागत भ्याटसहित रु एक अर्ब १९ करोड रहेको योजना कार्यालयका प्रमुख भण्डारीले जानकारी दिएका छन् । करिब ७०० मिटर लम्बाइको पुल, एक हजार ४८० मिटर एप्रोच सडक र चार किलोमिटरसम्म नदी नियन्त्रणको काम एकसाथ सम्पन्न गर्ने योजना रहेको उनले बताएका छन् ।

एनपिएलको सुरक्षा प्रबन्ध दुरूस्त राख्न गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं।  गृहमन्त्री ओमप्रकाश अर्यालले भोलीबाट सुरु हुन गइरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिगको (एनपीएल) को बारेमा त्यसको सुरक्षा प्रबन्ध र अन्तिम तयारीबारे ब्रिफिङ लिएका छन् ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी इश्वरराज पौडेलसहित काठमाडौँ प्रहरी प्रमुख रमेश थापासँग एनपीएलको सुरक्षा तयारीबारे जानकारी लिएका हुन् ।

गृहमन्त्रीको सचिवालयको अनुसार बैठकमा अर्यालले क्रिकेट अवधिभर सुरक्षा व्यवस्था दुरूस्त राख्न र कुनै पनि अवान्छित घटना हुन नदिन सुरक्षा सतर्कता बढाउन निर्देशन दिए। ‘पहिलो पटक रात्रिकालीन समयमा पनि क्रिकेट हुने भएको यसपालिको सुरक्षा व्यवस्था झनै मजबुद र दुरूस्त हुन जरूरी भएकोले सोहि अनुसार प्रबन्ध मिलाउन हुन निर्देशन गर्दछु,’ उनले भने।

यसअघि पनि, एनपीएलको उद्घाटन खेल घरमै बसेर हेर्न नेपाल क्रिकेट संघ (क्यान)ले आग्रह गरिसकेको छ।

क्यानका सचिव पारश खड्काले भिडिओ सन्देश जारी गर्दै उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेकाले घरमै बसेर हेर्न आग्रह गरेका थिए । खड्काले भने, ‘सबै टिकट बिक्री भइसकेको तथा पहिलो दिन सधैँ चाप बढी हुने भएकाले टिकट नपाउनुभएका सबैले घरमै बसेर खेल हेरी सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ।’