`

आगामी निर्वाचनका लागि सबै मिलेर लागौं, आँट ठूलो कुरा हो : जबरा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष पशुपति शमशेर जबराले आगामी निर्वाचनमा धेरै भन्दा धेरै सिट जित्ने गरी निर्वाचन केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । राप्रपा र राप्रपा, नेपालबीचको एकता सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आउने चुनावको सामना गर्न सक्ने आँट सबैभन्दा ठूलो कुरा भएको बताए । उनले आगामी निर्वाचनमा सबै मिलेर लाग्नुपर्ने बताए । सबै मिलेपछि महत्वपूर्ण जित निकाल्न सकिने उनको जिकिर छ । हरेक नगरपालिका, गाउँपालिका, हरेक जिल्ला, हरेक निर्वाचन क्षेत्रमा प्रयत्न गर्नुपर्ने उनले बताए ।

उनले भने, ‘अब आउने चुनाव सामना गर्ने आँट हाम्रो सबैभन्दा ठूलो कुरा हो । त्यसमा हामी सबै मिलेर त्यसमा लागौं । कमल थापाजीलाई म स्वागत गर्दछु । हामी सबै मिलेपछि महत्वपूर्ण जित निकाल्ने छौँ । हामीले हरेक नगरपालिका, गाउँपालिका, हरेक जिल्ला, हरेक निर्वाचन क्षेत्रमा हाम्रो प्रयत्न हुनुपर्छ । तर जहाँ हाम्रो सम्भावना दरो छ, जहाँ जित्ने निर्वाचन क्षेत्र छ, त्यसमा हामी लागि पर्नुपर्छ ।’ पूर्व अध्यक्ष जबराले सबै नेताहरू निर्वाचनमा केन्द्रित भएर लाग्नुपर्नेमा जोड दिए । उनले रास्वपाका रवि लामिछाने, कुलमान घिसिङ र बालेन मिलेर चुनावमा गए वहुमत ल्याउन सक्ने समेत बताएका छन् ।

 

ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता पानी पाइपलाइन र मूल अमेरिकी आरक्षणको विस्तारसम्बन्धी दुई विधेयक खारेज गर्दै आफ्नो दोस्रो कार्यकालमा पहिलो पटक भिटो शक्तिको प्रयोग गरेका छन् ।

ह्वाइट हाउसले सामाजिक सञ्जालमा घोषणा गरेअनुसार सोमबार ट्रम्पले द्विदलीय समर्थन प्राप्त विधेयकहरू भिटो गरे । सिनेट र हाउसले राष्ट्रपतिलाई ओभरराइड गर्न दुई तिहाइ बहुमतले विधेयकहरू फेरि पारित गर्नुपर्नेछ । एउटा बिल, ‘अर्कान्सास भ्याली कन्डुइट एक्ट समाप्त गर्नुहोस्’ ले कोलोराडोको पूर्वी मैदानमा दशकीय योजना पूरा गर्दै सफा पानी पाइपलाइन निर्माण गर्ने उद्देश्य राखेको थियो ।

भिटोको व्याख्या गर्दै राष्ट्रपति ट्रम्पले यसलाई धेरै खर्चिलो ठहर गर्दै ‘अमेरिकी करदाताहरूलाई महँगो र अविश्वसनीय नीतिहरूको वित्तपोषणबाट रोक्ने’ बताएका छन् । यो विधेयकमा कोलोराडोका दुई डेमोक्रेटिक सिनेटर र रिपब्लिकन प्रतिनिधि लरेन बोबर्ट र जेफ हर्डको समर्थन थियो । बोबर्टले सामाजिक सञ्जालमा ट्रम्पको भिटोपछि लेखे, “यो समाप्त भएको छैन ।” यससँगै, ट्रम्पले ‘माइकोसुकी आरक्षित क्षेत्र संशोधन ऐन’ पनि भिटो प्रयाेग गरेका छन् । यस विधेयकले फ्लोरिडाको एभरग्लेड्स राष्ट्रिय निकुञ्जमा माइकोसुकी मूल अमेरिकी जनजातिको नियन्त्रण विस्तार गर्ने लक्ष्य राखेको थियो । राष्ट्रपति ट्रम्पले जनजातिद्वारा दायर मुद्दा र करदाताको पैसाको प्रयोगलाई ध्यानमा राख्दै यसलाई अस्वीकार गरेका हुन् ।

राष्ट्रपतिको भिटो प्रयोग विरलै गरिन्छ । आफ्नो पहिलो कार्यकालमा ट्रम्पले १० विधेयकमा भिटो गर्नुभएको थियो । उहाँका पूर्ववर्ती जो बाइडेनले चार वर्षको कार्यकालमा १३ विधेयकमा भिटो प्रयोग गरेका थिए ।

राप्रपा र राप्रपा नेपालबीच एकताको ६ बुँदामा के छन् ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच चार वर्षपछि फेरि एकता भएको छ । यसअघि पनि यी दुई पार्टीबीच एकता भएको थियो । तर एकीकृत पार्टीको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले २०७८ माघ २५ गते राप्रपाबाट अलग भएर राप्रपा नेपाल ब्यूँताएका थिए । उनले सोही वर्ष फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए । आज फेरि ६ बुँदे आधार पत्रमा हस्ताक्षर गर्दै उनीहरू एक ठाउँमा आएका छन् । देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ एकीकरणको निर्णयमा पुगेको उनीहरूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एकताका ६ बुँदाहरू :

१) राष्ट्रिय प्रजातन्त्र पार्टीको २०७८ साल मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट पारित सम्बर्धनवादको वैचारिक दर्शन अन्तर्गत सबै धर्मका बीच समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य, राजसंस्था सहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिको सिद्धान्त एकीकरणपश्चातको मार्ग दर्शन हुनेछ ।

२) राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट पारित विधान पार्टीको विधान हुनेछ । एकीकरण पश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह (हलो) र झण्डा नै कायम हुनेछ ।

३) राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीको केन्द्रीय अध्यक्ष हुनु हुनेछ ।

४) राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट निर्वाचित भएका तर हाल राप्रपा नेपालमा रहेका केन्द्रीय कार्य समितिका सदस्यहरू एकीकृत पार्टीमा तत्कालीन महाधिवेशन हुँदा कायम रहेको पदमा रहने छन् । सहमतिको आधारमा एकीकृत पार्टीमा राप्रपा नेपालको तर्फबाट पदाधिकारी र सदस्यहरू केन्द्रीय कार्यसमितिमा रहने छन् ।

५) सहमतिको आधारमा राष्ट्रिय प्रजातन्त्र पार्टीको २०७८ मंसिरमा सम्पन्न महाधिवेशन हुँदाका बखत कायम रहेका वडा, गाउँ, नगर र जिल्ला तहका पदाधिकारी सदस्यहरूलाई तत जिल्लामा सम्मानजनक ढंगबाट गर्दै लगिनेछ ।

६) राप्रपा नेपालका संयोजित संगठनका पदाधिकारी र सदस्यहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको सम्बन्धित भातृसंगठनहरूमा सम्मानजनक ढंगबाट समायोजन गरिने छ ।

गाजामा मानवीय र स्वास्थ्य सङ्कट गहिरिँदै

एजेन्सी । गाजा स्ट्रिपमा टेन्टमा बसिरहेका विस्थापितहरूमा ‘लेप्टोस्पाइरोसिस’ नामक रोग फैलिन सक्ने चेतावनी जारी गरिएको छ । प्यालेस्टिनी स्वास्थ्य अधिकारी बास्सम जाकुतका अनुसार यो रोग मुख्यतया मूसाको फोहोर मिसिएको बाढीको पानीसँग सम्पर्क हुँदा फैलिन्छ ।

साथै, उक्त रोगको विशेष गरी चप्पल नभएका बालबालिकामा जोखिम बढी हुन्छ । लेप्टोस्पाइरोसिस ब्याक्टेरियाबाट फैलिने रोग हो, जसमा सङ्क्रमित जनावरको पिसाब वा त्यसले दूषित गरेको वातावरणसँग सिधा सम्पर्क हुँदा मानिसमा सङ्क्रमण हुन्छ । जाकुतले शङ्का लागेका केसका नमूना विश्व स्वास्थ्य सङ्गठनमार्फत परीक्षणका लागि पठाइएको बताए । अध्ययन अनुसार गाजामा द्वन्द्वका कारण पानी आपूर्ति र सरसफाइ प्रणाली प्रभावित भएका छन्, जसले चूहा र कीराको सङ्ख्या बढाएको छ र विस्थापित जनसङ्ख्यामा स्वास्थ्य जोखिम थप बढाएको छ । टेन्टहरूले अब तेज हावा र वर्षाबाट सुरक्षा दिन सकेका छैनन्, र धेरै टेन्ट तथा स्वास्थ्य केन्द्र हालसालै ढलेका छन् ।

इन्धन र सुरक्षात्मक उपकरणको अभावले स्वास्थ्यकर्मीहरूको राहत कार्यमा अवरोध पु¥याइरहेको छ, जसका कारण डायरिया र श्वासप्रश्वास सम्बन्धी सङ्क्रमणमा वृद्धि भएको छ । अर्कोतर्फ, गाजाका स्वास्थ्य अधिकारीहरूले अत्यन्तै अभूतपूर्व मानवीय र स्वास्थ्य सङ्कटका कारण क्यान्सर औषधिको ठूलो कमी, परीक्षण सेवा अभाव र सीमा नाका बन्दले बिरामीहरूको उपचार विदेशमा सम्भव नभएको बताइएको छ । स्वास्थ्य अधिकारीहरूको अनुसार आवश्यक औषधिमा ५२ प्रतिशत, मेडिकल सामग्रीमा ७१ प्रतिशत र प्रयोगशाला तथा ब्लड बैङ्कमा ५९ प्रतिशत कमी छ । हाल ६५० मृगौला डायलासिस रोगी, एक हजार क्यान्सर रोगी र करिब दुई लाख ८८ हजार मानिसहरू प्राथमिक स्वास्थ्य सेवामा आवश्यक सहयोग नपाउँदा गम्भीर स्वास्थ्य जोखिममा रहेका छन् ।

परिवारवादबारे स्पष्ट छौं, विधि बाहिर गएर रास्वपाले कसैलाई पनि बोक्दैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले समानुपातिक सूचीमा केही समस्या देखिए सच्याइने बताएका छन् । आज (बुधबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले समानुपातिक सूचीमा देखिएका समस्या समीक्षा हुने बताए । राजनीतिक ध्रुवीकरणका कारण पनि समय अभाव भएको सभापति लामिछानेको भनाइ छ । ‘नयाँहरू एक ठाउँमा जाने भन्ने छोटो समयमै निर्णय भएकाले तयारीमा हाम्रो समय नपुगेको जरुर हो । कुलमानजीसँग त हामीले इलाभेन्थ आवरमा एकता गरेका हौँ । उता सूची बुझाउनु छ । यता हामी सहमति गर्दै थियौँ,’ उनले भने ।

रास्वपाले परिवारवाद र नातावाद मान्दै नमान्ने पनि उनको भनाइ छ । ‘रास्वपासँग विधि छ विधिभन्दा बाहिर रास्वपा कुनै हालतमा जाँदैन । परिवारवादमा रास्वपाको विधानले मान्दैन । कथंकदाचित कोही जानु नै भएछ भने पनि रास्वपाको विधानले नै राइट टु रिकलको व्यवस्था गरेको छ । हामी सचेत छौँ । अरु केही पनि विवाद आउँछ कि भनेर वेट गरिरहेका छौँ । यो दुई दिनमा देखिएका जायज गुनासा सम्बोधन गर्छौँ । पार्टीले बोक्नुपर्ने एउटा पनि मान्छे छैन,’ उनले भने ।

अहिले भइरहेको खबरदारी आफूहरूका लागि राम्रो भएको पनि सभापति लामिछानेले भनेका छन् । ‘इलिट’ र चर्चामा आएका मान्छेहरू मात्र सूचीमा छन् भन्ने प्रश्नमा उनले भने, ‘नेपाल राजनीतिक रूपमा जुन अवस्थाबाट गुज्रिएको छ । त्यस कारणले सबै तप्का वर्ग, पेसा व्यवसायमा भएका मान्छेको राजनीतिमा चासो छ । जुन किसिमको राजनीति देशमा चल्यो । राजनीति नगर्ने मान्छेलाई पनि जुर्मुरायो । राजनीतिक रूपमा सचेत साथीहरू कलाकार, पत्रकार, खेलाडी, पर्वतारोही आउनु भएको हो । दलको दबदबा हटाउन उहाँहरू जोडिनु भएको हो ।’

सूचीमा परेका सबैको राजनीतिक चेतना अब्बल भएको पनि लामिछानेले दाबी गरेका छन् । प्राइमरी इलेक्सनमा अगाडि आएका मान्छे पछाडि परेको भन्ने प्रश्नमा उनी भोटिङको वेटेज नै ५० प्रतिशत मात्र रहेको दाबी गरे । भोटिङ मात्र नभई उम्मेदवारहरूको ‘पोलिटिकल प्रक्सिमटी’ लगायतका मापदण्ड पनि हेरिएको उनले बताएका छन् ।

राप्रपा र राप्रपा नेपालबीच चार वर्षपछि पार्टी एकता {तस्वीरहरु}

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच चार वर्षपछि पुनः पार्टी एकता भएको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच भएको यस एकतासँगै राजावादी तथा राष्ट्रवादी धारका शक्तिहरू फेरि एकै राजनीतिक छातामुनि आएका छन् ।

दुवै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गर्दै लामो समयदेखिको विभाजन अन्त्य भएको घोषणा गरेका हुन् । यसअघि पुस ९ गते धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा दुवै नेताले एकता समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।सहमतिअनुसार एकता घोषणा सभा २०८२ पुस १६ गते राष्ट्रिय सभागृहमा आयोजना हुने तय भएको थियो । २०७८ सालमा सम्पन्न राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले पार्टी छाड्दै राप्रपा नेपाल पुनः गठन गरेका थिए । उक्त निर्वाचनमा लिङ्देनले १,८४४ मत प्राप्त गर्दा थापाले १,६१७ मत ल्याएका थिए ।

हारपछि थापाले पार्टीभित्र निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाएका थिए र २५ मंसिर २०७८ मा हेटौँडामा पुगेर अलग पार्टी ब्युँताएका थिए । चार वर्षपछि भने उनी फेरि मूलधारमा फर्किएका छन् । यो एकताले आगामी प्रतिनिधिसभा निर्वाचनअघि राजावादी मतहरू एकीकृत हुने अपेक्षा गरिएको छ । राप्रपाको इतिहासमा कमल थापाको ‘गीता कसम’ पनि निकै चर्चित छ । २८ फागुन २०७६ मा राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा कार्यक्रममा थापाले गीता हातमा लिएर पार्टी नफुट्ने कसम खाएका थिए । तर, करिब दुई वर्षमै पार्टी पुनः विभाजन भयो । आज त्यही नेता फेरि एकताको मञ्चमा देखिएका छन्, जसले राप्रपाको राजनीतिक यात्रा कति उतार–चढावपूर्ण छ भन्ने झल्काउँछ ।

राप्रपा स्थापना भएको ३५ वर्षमा सात पटक एकता र छ पटक विभाजन भइसकेको छ । २०४६ सालपछि पञ्चायतकालका प्रभावशाली नेताहरू—सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपति शमशेर राणा लगायत-एकै पार्टीमा समेटिए पनि नेतृत्वको प्रतिस्पर्धा र सत्ताको खेलका कारण पार्टी कहिले जुट्ने, कहिले फुट्ने क्रम रोकिएन । २०४७ सालमै अध्यक्ष विवादका कारण राप्रपा (थापा) र राप्रपा (चन्द) बने । त्यसपछि एकता, पुनः विभाजन, सरकार निर्माण र विघटन, राजसंस्थासँगको निकटता वा दूरी-यी सबै कारणले राप्रपाभित्र निरन्तर कलह देखिँदै आयो । २०५३, २०६२, २०७३ र २०७८ का विभाजनहरू त्यसका प्रमुख उदाहरण हुन् ।

राप्रपाको विभाजनको मूल कारणमध्ये एक राजसंस्थाप्रतिको दृष्टिकोण पनि रहँदै आएको छ । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा कमल थापाले राजालाई साथ दिँदै राप्रपा नेपाल गठन गरे भने अन्य नेताहरू गणतान्त्रिक व्यवस्थासँग सम्झौता गर्दै अघि बढे । यही वैचारिक दूरीले पार्टीलाई बारम्बार चिरा–चिरा बनायो । यस पटकको एकता राप्रपाको सातौँ एकीकरण हो । नेतृत्वमा रहेका लिङ्देन र पुनः फर्किएका थापा दुवैका लागि यो एकता पार्टीलाई स्थायित्व दिने अवसरका रूपमा हेरिएको छ । तर, विगतको इतिहास हेर्दा राप्रपाका लागि एकता सधैँ स्थायी बन्न नसकेको यथार्थ पनि उत्तिकै बलियो छ । अबको चुनौती भनेको विगतका गल्ती दोहोर्‍याउने कि एकीकृत भएर संगठन सुदृढ बनाउने भन्ने हो । आगामी निर्वाचनअघि भएको यो एकताले राप्रपालाई पुनः राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकामा पुर्‍याउँछ कि फेरि अर्को विभाजनको बीउ रोपिन्छ-यसको उत्तर समयले नै दिनेछ ।

तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

रास्वपाको समानुपातिक बन्दसूचीमा विवादै विवाद , के भन्छन् युवा नेताहरु ?

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक बन्दसूचीमा सामाजिक अभियन्ताहरुले चर्को असन्तुष्टि व्यक्त गरिरहेका छन् । रास्वपाको बन्दसूचीमा मोडल, नायिका तथा होष्ट रिमा विश्वकर्मा, नेपाल आईडलको होष्टका रुपमा काम गरिरहेका आसिफ़ साह, गोल्डस्टार कम्पनीकी मालिक विदुषी राणा, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ, चर्चित गायक प्रकाश सपुत, चर्चित गायिकाद्वय त्रिशला गुरुङ र सत्यकला लगायतका चर्चित र स्थापित नाम रास्वपाको समानुपातिक सूचीको अग्रभागमा परेपछि सागर ढकल, हेमराज थापा, आशिका तामाङलगायतका चर्चित सामाजिक अभियन्ताहरु असन्तुष्ट बनेका छन् । 

उनीहरुले नयाँ भन्दै आएकाहरुले पुरानै दलको जस्तो रबैया अपनाएको भन्दै रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा विरोध जनाएका हुन् । अभियन्ता सागर ढकालले प्रश्न नसोध्ने र मौन भक्ति गर्ने हो भने देश बन्दैन, चाहे नयाँ हुन्, चाहे पुराना भन्दै रास्वपाको बन्दसूचीप्रति आलोचनात्मक टिप्पणी गरेका छन् ।  

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्-

यसै सन्दर्भमा रास्वपाकी केन्द्रीय सदस्य तथा निवर्तमान सांसद डा. तोसिमा कार्कीले ‘प्राइमरी भोटिङकै धज्जी उडाइएको’ भन्दै नेतृत्वमाथि सीधा प्रश्न उठाएकी छन् । पार्टीका पदाधिकारी र सचिवालय सदस्यहरू सधैं ‘पोजिसन अफ बेनिफिट’ मा रहेको आरोप लगाउँदै उनले पद होल्ड गर्नेहरूले प्रत्यक्ष चुनाव लड्ने साहस देखाउनु पर्ने धारणा सार्वजनिक गरेकी छन् ।

असन्तुष्टि केवल प्रक्रियामा सीमित छैन, भूगोल र प्रतिनिधित्वको सवाल पनि चर्को बनेको छ । सभापति रवि लामिछानेको गृह जिल्ला चितवनबाट मात्रै २१ जना उम्मेदवार समेटिँदा सुदूरपश्चिमबाट दुई जना मात्रै पर्नु गम्भीर असन्तुलनको उदाहरण बनेको छ । जेनजी आन्दोलनकी अगुवा रक्षा बमले ‘मेरो सुदूर अझै पनि सुदूर नै छ’ भन्दै समानुपातिक प्रणालीलाई ‘सांसद पद बिक्री र नातेदार भर्ती गर्ने केन्द्र’ बनाइएको आरोप लगाएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्-

त्यस्तै, चर्चित सामाजिक अभियन्ता आशिका तामाङले पनि रास्वपाको बन्दसूचीमा आपत्ति जनाएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफूले नयाँ बाट गल्ती नहोला भन्ने सोचेको तर यहाँ त  निमुखा वर्गको छाती कुल्चेर मिस नेपाल, ससुरा बा, धनाढ्यहरुलाई अवसर दिइने रहेछ भन्दै दु:ख व्यक्त गरेकी छिन् ।

सरकारको नजिक मानिने विशेष गरी कुलमान घिसिङको विश्वास पात्रमध्येका एक मानिने अभियन्ता हेमराज थापाले पनि रास्वपाको बन्दसूचीको विरोध गरेका छन् । उनले काठमाडौँको चस्माले सुदुरपश्चिम देख्दैन- कर्णाली देख्दैन भन्दै बन्दसूचीमा आपत्ति जनाएका हुन् । 

केही समय अगाडिसम्म यी तीनै जना अभियन्ताहरु रास्वपामा प्रवेश गर्ने चर्चा पनि चलेको थियो । 

 

संविधानको मर्मविपरीत समानुपातिक बन्दसूची, जेन–जी नेताहरूको पोखियो असन्तुष्टि

रामचन्द्र जोशी

काठमाडौं । निर्वाचन आयोगमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले बुझाएका समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर चौतर्फी प्रश्‍न उठिरहेको छ । संविधानको मर्म र भावनाविपरीत समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको भन्दै दलहरू आलोचनामुक्त रहेनन् ।

संविधानमा अल्पसंख्यक समुदाय, पिछडिएका वर्ग र राज्यको पहुँचमा नरहेका समुदायलाई समानुपातिक समावेशी प्रतिनिधित्व गराउने व्यवस्था छ । तर, दलहरूले यसपटक समानुपातिक व्यवस्थाको धज्जी उडाउँदै पटकपटक अवसर पाएका, राष्ट्रिय राजनीतिमा परिचित र प्रख्यात व्यावसायिक घरानाका व्यक्तिहरूलाई बन्दसूचीको अग्रस्थानमा समेटे । जसबाट समानुपातिक निर्वाचन प्रणालीमाथि नै प्रश्‍न उठ्न थालेको छ । प्रश्‍न उठाउनेहरू गत भदौ २३ र २४ गते भएको जेन–जी विद्रोहको अग्रमोर्चामा देखिएका जेन–जी नेताहरू हुन् ।

कसले के भने ?

जेन–जी विद्रोहमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी रक्षा बमले दलहरूले बुझाएको समानुपातिक बन्दसूचीप्रति आपत्ति जनाउँदै भनेकी छिन्, ‘सुदूर सधैँ दूर ।’ दलहरूले बुझाएको बन्दसूचीप्रति असन्तुष्ट उनले सामाजिक सञ्‍जाल फेसबुकमा स्टाटस लेख्दै सुदूर अझै पनि सुदूर भएको र त्यहाँका मानिस र समुदाय वर्षौँदेखि राजधानीबाट अपहेलित भएको गुनासो गरेकी छिन् । उनले सुदूर देशको मानचित्रमा पर्छ भन्‍ने कुरा सबै दलले समानुपातिक बन्दसूची बुझाउँदा बिर्सिएको भन्दै चित्त दुखाइन् ।

जेन–जी नेता अर्नव चौधरीले पनि दलहरूले बुझाएको समानुपातिक बन्दसूचीमा आपत्ति जनाएका छन् । आफूहरूले समावेशिता भन्दै कराइरहँदा त्यसको ख्याल नगरी असमावेशी ढंगले बन्दसूची आयोगमा बुझाएको आरोप लगाए ।

लामो समयदेखि समावेशिता र समानुपातिक प्रतिनिधित्वको विषयमा आवाज उठाउँदै आएका माजिद अन्सारीले पनि दलहरूको समानुपातिक बन्दसूचीप्रति विरोध जनाएका छन् । उनले बन्दसूची खस–आर्यको कब्जामा परेको भन्दै कडा शब्दमा विरोध गरे ।

जेन–जी आन्दोलनकै अर्की अगुवा भावना राउतले समेत दलहरूले आयोगमा बुझाएको बन्दसूचीप्रति आपत्ति जनाएकी छिन् । उनले समानुपातिक बन्दसूची नसच्याइए प्रत्यक्षमा उम्मेदवार हेरेर मात्रै मतदान गर्ने चेतावनी दिएकी छिन् ।

त्यस्तै, जेन–जी नेता तनुजा पाण्डेले पनि दलहरूले सार्वजनिक गरेको बन्दसूचीको विरोध गरेकी छिन् । उनले समानुपातिक समावेशी प्रणालीलाई पैसा र शक्तिको खेल बनाउन खोजिएको भन्दै दलहरूको बन्दसूचीको विरोध गरेकी हुन् ।

जेन–जी नेता आदित्यले पनि जनताले पुरानाले गरेको गल्ती फेरि गरुन् भनेर नयाँलाई विकल्प नखोजेको बताएका छन् ।

 

मधेस मन्त्रिपरिषदले पायो पूर्णता : एकै पटक ६ मन्त्रीले लिए शपथ

काठमाडौँ । मधेस प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । आज मुख्यमन्त्री कृष्णप्रसाद यादवले एकै पटक ६ मन्त्री थप गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । नवनियुक्त मन्त्रीहरूले आजै शपथ ग्रहण समेत गरेका छन् । उनीहरूलाई प्रदेश प्रमुख डा। सुरेन्द्र लाभले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । मन्त्रिपरिषद् विस्तारसँगै मधेस प्रदेश सरकार मुख्यमन्त्रीसहित १२ सदस्यीय भएको छ । केही बेरअघि मधेस सरकारमा जसपाबाट २, कांग्रेसबाट २, जनमतबाट १ र माओवादी केन्द्रबाट १ जना मन्त्री नियुक्त भएका हुन् ।

जसपाबाट राजकुमार गुप्ता भौतिक पूर्वाधार र मनिष सुमन श्रम तथा यातायातमन्त्री नियुक्त भएका छन् । त्यसैगरी कांग्रेसबाट श्याम पटेल कृषि र शंकर चौधरी वनमन्त्री बनेका छन्। जनमतबाट वसन्त कुशवाहा युवा तथा खेलकूदमन्त्री बनेका छन् भने माओवादी केन्द्रबाट फकिरा महतोले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् । गत मंसिर १९ गते ७ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनी कांग्रेससहित जसपा, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन् । तर उनलाई सत्ता बाहिर रहेको एमाले, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीले समेत विश्वासको मत दिएका थिए । यसअघि मधेसमा माओवादी केन्द्रबाट जवाहरलाल कुशवाह ऊर्जा, लोसपाबाट रानी कुमारी तिवारी शिक्षा तथा संस्कृति, कांग्रेसका जंगीलाल राय स्वास्थ्य, एकीकृत समाजवादीका कनिष पटेल उद्योग र जनमतका महेश यादव अर्थमन्त्री बनिसकेका थिए ।

 

मेलम्ची बाढीको साढे चार वर्ष : न पूर्ण राहत, न त पुनर्स्थापना

काठमाडौँ । साढे चार वर्ष अघिको कुरा हो । मेलम्चीले एक्कासी विपत्ति झेल्यो । लामटाङ राष्ट्रिय निकुञ्जभित्र रहेको भ्रेमाथाङमा गएको भीमकाय पहिरो लेदो सहित बगेर आउँदा झन्डै ५ सय घरधुरी प्रभावित भए । मेलम्ची बजारलाई उठीबास लगाएको मेलम्ची यतिबेला शान्त देखिन्छ । अहिले पनि किनारमा बनेका बगरयुक्त खेत, जोखिममा उभिएका घर र अस्थायी टहराले विपत्तिको त्यही समय सम्झाउँछन् ।

दुई वर्षअघि प्रकृति रिसोर्सेज सेन्टरले गरेको अध्ययनले मेलम्ची बाढीबाट ५० लाख अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको देखाएको छ । मेलम्ची नगरपालिकामा ४ सय ३६ मिलियन अमेरिकी डलर अर्थात् करिब ५८ अर्ब ८६ करोड रुपैयाँ, हेलम्बु गाउँपालिकामा २ सय ४ दशमलव ५६ मिलियन अमेरिकी डलर अर्थात् करिब २७ अर्ब ६१ करोड रुपैयाँ क्षति भएको छ । अध्ययन प्रतिवेदनअनुसार प्रतिघरधुरी औसत ५२ हजार १ सय १३ अमेरिकी डलर अर्थात् करिब ७० लाख ३५ हजार रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको छ । तर प्रभावितका लागि उपलब्ध गराइएको राहत अत्यन्तै न्यून छ । विपत्तिको साढे चार वर्ष बितिसक्यो । तर पनि मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपाल क्षेत्रका बाढी प्रभावितले न त पूर्ण राहत पाए, न त सुरक्षित रूपमा पुनःस्थापित हुन सके । स्थानीय जनप्रतिनिधि र अध्ययन दुवैको निष्कर्ष एउटै छ-समस्या स्रोतको मात्र होइन, नीति र प्रणालीकै हो ।

५७ अर्बको क्षति, १ अर्बको बजेट
मेलम्ची नगरपालिकाकी उपमेयर उमा प्रधान स्थानीय सरकार बजेटको सीमाले बाँधिएको बताउनुहुन्छ । उनले भनिन्, ‘मेलम्ची बाढीबाट करिब ५७ अर्ब रुपैयाँ बराबरको क्षति भएको भनिन्छ । तर हाम्रो नगरपालिकाको वार्षिक बजेट १ अर्ब २०÷३० करोड मात्रै हुन्छ । यस्तो अवस्थामा जोखिममा परेकालाई सुरक्षित ठाउँमा सार्ने काम स्थानीय सरकारले गर्न सक्दैन ।’ उनका अनुसार नगरपालिकाले सामान्य राहत, जीविकोपार्जनसँग जोडिएका कार्यक्रम र केही पुनःस्थापनाका काम त गरेको छ । तर जोखिमयुक्त बस्ती स्थानान्तरण, सुरक्षित आवास र दीर्घकालीन पुनःस्थापना संघीय बजेट र विशेष कार्यक्रमबिनै सम्भव छैन । उनले स्थानीय तहसँग स्रोत नभएको भन्दै यसमा संघीय सरकारले विशेष ध्यान दिनुपर्ने बताइन् ।

पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा मेलम्ची बाढीमा पीडितलाई न्याय नपुग्नुको मूल कारण कानुनको साँघुरो परिभाषा भएको टिप्पणी गर्छन् । उनले भने, ‘हिजो खोला घरभन्दा १० मिटर तल थियो, अहिले १० मिटर माथि छ । घर भत्किएको छैन भनेर कानुनले लाभग्राही मान्दैन।’ उनले ठूलो मात्रामा खेतीयोग्य जमिन बगरमा परिणत भएको, मोटरेबल पुल, झोलुङ्गे पुल, सिँचाइ कुलो र खानेपानीका मुहान नष्ट भएको बताउँदै कृषि जमिनको स्थायी क्षति, जीविकोपार्जनको समाप्ति र भविष्यको जोखिमलाई कानुनले नसमेटेको र यो विषय क्षतिपूर्तिको दायरामा नपरेको बताए । उनले थपे, ‘विपद्लाई फास्ट–ट्र्याकबाट क्षतिपूर्ति दिने अधिकार स्थानीय सरकारलाई नदिएसम्म पीडितले राहत पाउँदैनन् ।’

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा मेलम्ची बाढीलाई सामान्य विपद्सँग तुलना गर्नु नै प्रथम दृष्टिमा अन्यायपूर्ण भएको टिप्पणी गर्छन् । उनले भने, ‘कतै एक–दुई घर भत्किन्छन्, कतै पाँच–छ सय घर भत्किन्छन् । तर कार्यविधि एउटै हुन्छ—पाँच लाख पाउने ।’ उनले विपद्को प्रकृति र हानि–नोक्सानीको तथ्यांकअनुसार राहत तथा पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने तर्क गर्दै सानो क्षतिलाई स्थानीय सरकारले सम्बोधन गर्न सक्ने भए पनि ठूला क्षति सम्बोधनका लागि संघ सरकारले राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने र अन्तर्राष्ट्रिय वित्त जुटाउन पहल गर्नुपर्ने बताए । उनले भने, ‘हेलम्बु, पाँचपोखरी र मेलम्चीमा ५–६ सय घर भत्किएका छन् । त्यो पनि एउटै मापदण्डमा हाल्नु हुँदैन । साधारण नौ–दश वटा घर भत्किएकोलाई के मान्ने ? सय–दुई सय घर भत्किएकोलाई के मान्ने ? यी कुरा ऐनमै व्यवस्था गर्नुपर्छ । विपद्को प्रकृतिअनुसार पुनःस्थापनाका लागि छुट्टाछुट्टै व्यवस्था गर्नुपर्छ।’उनले हेलम्बुमा सयौँ परिवार दीर्घकालीन विस्थापनमा परेको बताउँदै भने, ‘एक–दुई वर्षका लागि बनाइने टहरा पर्याप्त हुँदैन । कम्तीमा तीन–चार वर्ष टिक्ने संरचना चाहिन्छ ।’ उनले स्थानीय सरकारसँग स्रोतको कमी भएकाले विपद्को आकारअनुसार छुट्टै ऐन र बजेट आवश्यक रहेको बताए ।

नीतिले समेट्दैन गैरआर्थिक क्षति

मेलम्ची बाढीको सबैभन्दा बेवास्ता गरिएको पक्ष भनेको गैर–आर्थिक क्षति हो । प्रकृति रिसोर्सेज सेन्टरले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका १ सय २० घरधुरीमा गरेको अध्ययनअनुसार ८५ प्रतिशत प्रभावितले मनोसामाजिक समस्या भोगिरहेका छन् भने ५८ प्रतिशतमा सांस्कृतिक तथा धार्मिक स्थलको क्षति परेको छ । ७० प्रतिशतमा डिप्रेसन र ५७ प्रतिशतमा चिन्तासम्बन्धी लक्षण देखिएका छन् । मठ–मन्दिर, पूजा–पर्व र सामूहिक पहिचानसँग जोडिएका अभ्यासहरूमा आएको अवरोधले समुदायको सामाजिक संरचनामै असर पारेको छ । तर यस्ता मनोसामाजिक र सांस्कृतिक क्षतिलाई सम्बोधन गर्ने स्पष्ट नीति, बजेट र संस्थागत जिम्मेवारी देखिँदैन ।

बाढीले घर, खेतीयोग्य जमिन, बाली, पशुपालन र कृषि पूर्वाधारमा गम्भीर क्षति पुर्‍याएको तथा खेतीयोग्य जमिन बगरमा परिणत हुँदा जीविकोपार्जन नै समाप्त भएको छ । तर विद्यमान राहत संरचनाले यस्तो स्थायी क्षतिलाई गणनामा राख्न सकेको छैन । जलवायु परिवर्तन नीति २०१९ ले क्षतिको प्रकार स्पष्ट गर्दैन । विपद् व्यवस्थापन ऐनले घर, मृत्यु र घाइतेलाई प्राथमिकता दिन्छ, तर कृषि जमिन, संस्कृति र मानसिक स्वास्थ्यलाई समेटेको छैन । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय कमजोर छ । यही नीतिगत दूरीका कारण मेलम्ची बाढी साढे चार वर्षसम्म पनि समाधानविहीन बनेको छ ।

 

‘चार हजार योजनाको बजेट रोकेर निर्वाचन खर्च’

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले आउँदो फागुनमा हुने चुनावमा चालु बजेटबाटै खर्च जुट्ने बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खनालले चालु आर्थिक वर्षको बजेटमा तयारी बिनाका तीन करोडका चार हजार योजनामा रहेको बजेटलाई रोक्का गरेर चुनावमा खर्च जुटाइएको बताएका हुन् । उनकाअनुसार करिब १२० अर्ब तयारी पूरा नभएका आयोजनाहरूको रोक्का आफू अर्थमन्त्री भएर आएपछि गरेको बताए । ती आयोजना मध्ये केहीमा टेण्डर भएका, हुने क्रममा रहेका आयोजनाहरूको भने फुकुवा गरिएको छ । फुकुवा नभएका आयोजनामा रहेको बजेटबाट सरकारले चुनाव र पुनर्निर्माण काम गर्नेछ । अर्थमन्त्री खनालकाअनुसार चुनावमा भारत–चीनको सहयोग लिइँदै छ । छिमेकी देशहरूले खुला दिलले सहयोग गर्ने बताएकाले भारत–चीनबाट चुनावमा सहयोग लिन लागिएको उनले बताए।

खनालकाअनुसार त्यो सहयोग आर्थिक सहयोग भने होइन, चुनावमा आवश्यक पर्ने कतिपय सवारीहरू भारत चीनले दिँदैछन् । अर्थमन्त्री खनालले भने, ‘चार हजार योजनामा प्रत्येकको ३÷३ करोड छुट्टाइएको रहेछ । ती आयोजनाको पूर्वतयारी केही पनि रहेनछ । अहिले १२० अर्ब त्यसरी पहिचान गरेर रोक्का गरिएको हो । त्यसमध्ये टेन्डर भएको र हुने क्रममा छ र आयोजना चाहिने पनि हो र प्रोजेक्ट बैंकबाट आएको छ भने त्यसलाई फुकुवा गरिदियौँ । त्यसमध्ये ३१ अर्ब फुकुवा गरिएको छ ।’ उनले भने, ‘अहिले पनि ८० अर्ब रोक्का नै छ । त्यसले निर्वाचन, पुननिर्माणलाइ चाहिने खर्च पूर्ति गर्छ। निर्वाचन आयोगका लागि ६ अर्ब ९ करोड हामीले स्वीकृति निकासा पनि दिइसकेका छौँ । खर्च हुने क्रममा छ । करिब १७ अर्ब म्यादी प्रहरीका लागि खर्च हुन्छ । इकुमेन्ट, मोटर, भेइकल गरेर २५–२६ अर्ब खर्च हुन्छ।’

उनले ४–५ अर्ब बराबरको भेइकल, इकुमेन्टहरु भारत चीनबाट चुनावका लागि सहयोग लिइएको बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले चुनावमा नेताहरूले विकासका आश्वासन बाँडेर जित्दा योजनाहरूमा बजेट पार्न आयोगमा दबाब आउने गरेको बताए । उनकाअनुसार भोटरहरूलाई अनेक आश्वासन दिने र चुनाव जितेपछि पूर्वतयारी बिनाका आयोजनाहरूमा बजेट छुट्याउन दबाब आउने गरेको छ । उनकाअनुसार स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा पनि रिफर्म जरुरी छ । उपाध्यक्ष श्रेष्ठले भने, ‘वास्तावमा धेरै सेक्टरमा रिफर्म गर्नुपर्नेछ । शिक्षा, स्वास्थ्य लगायतको रिफर्म गर्नुपर्नेछ । उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएका ४ सय सुझावहरू कार्यान्वयन गर्नुपर्नेछ । कार्यान्वयनको चरणमा जानेछ । मुलुकमा राजनीतिक स्थायित्व नहुँदा धेरै कुरा कार्यान्वयनमा जान सकिरहेको छैन । चुनावका कारण यो देखाउने विकास भएको मैले पाएँ । योजना आयोगलाई पनि दबाब आउने रहेछ । इलेक्सन छ, भोटरहरूको डिमाण्ड छ, मैले यो गरे भनेर उम्मेदवारहरुलाइ देखाउन पर्ने रहेछ । आवश्यकता र औचित्य भन्दा बढी प्रोजेक्टका संख्या बढाउने गरिँदो रहेछ।’

कार्यक्रममा राष्ट्रिय योजना आयोगकै पूर्वउपाध्यक्ष पुष्पराज कँडेलले सांसद्हरुलाई पोलिसि मेकरका रूपमा भन्दा पनि विकास एजेन्टका रूपमा चुनावमा जिताइँदा समस्या भएको बताए । उनकाअनुसार सबैभन्दा समस्याका रूपमा संसद डेभलपमेण्ट एजेण्ट हुनु हो । जसकारण आयोजना छनौटदेखि कार्यान्वयनसम्मै परेको छ । पूर्व उपाध्यक्ष कँडेलले भने, ‘अब हामीले सांसद्हरुलाई पोलिसि मेकर बनाउन भन्दा पनि डेभलमेन्ट एजेन्ट बनायौँ । चुनावका बेला मैले योयो गर्छु भनेर भाषण गरेको हुन्छ । त्यसपछि चुनाव जितेर आएर योजना आयोगमा दबाब दिन थाल्छ। त्यहीनेर नै सबैभन्दा बढी कमजोरी छ । प्रोजेक्ट छनौटदेखि कार्यान्वयन सम्मै हचुवापन छ ।’

सोही कार्यक्रममा, सार्वजनिक खर्च पुनरावलोकन आयोगका संयोजक समेत रहेका अर्थविद् डिल्लीराज खनालले मुलुकमा बेरोजगारी समस्या जटिल बन्दै गएको बताए। उनकाअनुसार सरकारले बनाउने योजनाहरूले तल्लो तहका समस्या हल गर्न सकेन। जसकारण नैरश्यता बढ्दो छ । अर्थविद् खनालले भने ‘जुन यान्त्रिक हिसाबले कामदारको हिसाब गरिन्छ नि त्यसको अर्थ नै छैन। विगतका योजनाहरू हेर्ने हो भने ग्राउण्ड लेभललाई छुनै सकेको छैन। अहिले सबैभन्दा च्यालेञ्ज भनेकै बेरोजगारीको हो । युवा बेरोजगारी समस्या चर्किँदै गएको छ। यस्तो मुलुक जहाँ २ हजार २२०० युवाहरू प्रत्येक दिन बिदेसिएका छन् । हामी कहाँ छौँ भन्ने कुरा व्याख्या नै गर्नुपरेन । यही रेकर्डले देखाउँछ।’

कार्यक्रममा पूर्व अर्थसचिव मधुकुमार मरासिनीले ठुला आयोजनाहरूमा थप लगानी बढाएर भएपनि अर्थतन्त्रलाई सरकारले चलायमान बनाउनुपर्ने बताए । उनका अनुसार प्राइभेट सेक्टरको लगानीले मात्रै अर्थतन्त्र चलायमान हुन सक्दैन । सरकारले लगानी गरेर रोजगारीको सिर्जना गर्नुपर्छ । पूर्व सचिव मरासिनीले भने, ‘अहिले हाम्रो अर्थतन्त्र जुनप्रकारले सुस्त भइरहेको छ । ठुला आयोजनामा बजेट अभाव कहाँ छ, त्यो पत्ता लगाएर त्यस्ता परियोजनामा पुनः बजेट छुट्टाउने हो र प्रभावकारी रूपमा ती प्रोजेक्ट चलाउने हो भने त्यसले बजारमा मनोबल उकास्नेछ ।’ उनले भने, ‘सरकार अघि नबढेसम्म प्राइभेट सेक्टरको डिमाण्ड नबढ्ने रहेछ भन्ने प्रस्ट देखियो । बैंकमा अहिले लगानीयोग्य रकम थ्रुपिएर बसेको छ। डिमाण्ड छैन। त्यसैले केही ठुला प्रोजेक्टमा तत्कालै पैसा जोहो गरिदिने हो भने निर्माण व्यवसायीले काम पाउँथे । उनीहरूले काम पाउने भनेको सिमेन्ट, छड उत्पादक सबैले काम पाउने हो। वैदेशिक ऋणबाट सञ्चालित परियोजनाहरूमा पनि काम नै हुन सकेको छैन । हाम्रो खर्च गर्ने क्षमता कसरी बढाउने हो, त्यसतर्फ पनि सोच्न जरुरी छ।’

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य रामकुमार फुयाँलले १६ औँ योजनापत्रले अघि सारेका योजनालाई पूरा गर्न सरकार अघि बढ्नुपर्ने बताए। उनका अनुसार सामाजिक न्याय र समृद्धिको यात्रा पूरा गर्न उत्पादन र उत्पादकत्व बढाउनु पर्छ। राष्ट्रिय योजना आयोगका पूर्वसदस्य फुयाँलले भने ‘हामी अहिले १६ औँ आवधिक योजनाले फोकस गरेको सामाजिक न्याय र समृद्धि त्यो कहाँबाट कसरी प्राप्त हुन्छ, भन्दा उत्पादन, उत्पादकत्व र प्रतिस्पर्धी क्षमताबाट हुन्छ। खासगरी उत्पादनशील रोजगारी दिगो सामाजिक सुरक्षाको माध्यमबाट मात्रै यो हुन सक्छ । जसका लागि हामी एकदमै दक्ष मानव पुँजीको निर्माण गर्न आवश्यक छ। त्यसका लागि हामीले लगानी गर्नुपर्छ । एउटा घरमा एउटा रोजगारी सिर्जना भयो भने त्यसैको सेयरिङले हाम्रो धेरै काम गर्न सकिन्छ।’ उनका अनुसार एक घर एक रोजगारी सिर्जना गर्न सरकार लाग्नुपर्छ। त्यो हुन सक्यो भने मात्र मुलुक समृद्ध हुनेछ ।

 

पुसभित्र विशेष महाधिवेशन गर्ने बाटोमा अघि बढ्यौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन गर्ने बाटोमा अघि बढेको बताएका छन् । राष्ट्रिय एकता र मेलमिलापको दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दैं उनले विशेष महाधिवेशनको पक्षमा आफूलाई साथ दिन आह्वान गरेका छन् । उनले भने, ‘अतः हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ । सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु ।’ गगनले आजभन्दा ४९ वर्ष अगाडि विषम परिस्थितिमा राष्ट्रिय एकता र मेलमिलापको आह्वान गरेर बीपी कोइराला, गणेशमान सिंहलगायतका नेता नेपाल फर्किएको दिनको स्मरण गरेका छन् ।

उनले भनेका छन्, ‘राष्ट्रिय एकता र मेलमिलाप दिवस’ को ऐतिहासिक अवसरमा आम जनताको परिवर्तनको आकांक्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुन सकोस्, एकले अर्कोलाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधको साथ अगाडि बढ्ने प्रेरणा हामी सबैलाई मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु।’

नेपाली कांग्रेसले यही उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको गगनले बताएका छन् । उनले भनेका छन्, ‘यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ । अनि एकता के बाट आउँछ ? निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन – भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र त्यो एकताको उद्भव हुन्छ । त्यो भनेको आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै हो । पौष मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ ।’
गगनले राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगानुकूल जिम्मेवारी रहेको उल्लेख गरेका छन् ।

आन्दोलनमा उत्रिए इपीएस पीडितहरु (तस्वीरहरु)

काठमाडौं । रोजगारीका लागि कोरिया जान भाषा पास गरेर बसेका युवाहरु फेरि आन्दोलनमा उत्रिएका छन् । १० हजार बढी रोष्टरमा रहेका युवाहरुको भविष्यमाथि खेलबाड गरेको भन्दै युवाहरुले ग्वार्कोस्थित इपीएस कोरिया शाखा अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले विभिन्न ९ बुँदे माग राखेका छन् ।

२०२२ देखि इपीएस प्रणालीमा अत्याधिक विद्यार्थी भाषा परीक्षा पास गराउने रणनीतिका कारण रोस्टरमा चाप वृद्धि भएको र कोरियालाई चाहिने आवश्यकता भन्दा तीन गुणा पास गराएर ३ तिहाईको एक तिहाई कोरिया लाने प्रवृतिका कारण रोस्टरमा पासरहरु अलपत्र पारेको उनीहरुले आरोप लगाएका छन् । सन् २०२२ देखि भाषा परीक्षा उतीर्ण भएदेखि २०२६ सम्म आइपुग्दा कोरिया नपुगेका संख्या १५ हजारको हारहारीमा छन् । तर यो समस्या इपीएस कार्यालय र एचआरडीले सिर्जना गरेको उनीहरुको आरोप छ । न्याय खोज्न उत्तीर्ण युवाहरुहरुले पटक–पटक ज्ञापनपत्र बुझाए पनि चासो नदेखाएपछि माग कार्यान्वयन गर्न आन्दोलनमा उत्रिन वाध्य भएको उनीहरुले बताएका छन् ।

सीवीटीको फाइल नयाँ कम्पनीमा नपठाउने र रोस्टर सकिदै गरेका कृषि र सीपको फाइल एकचोटी पनि कम्पनीमा नपुगी २ वर्षको रोस्टर अवधि समाप्त हुन लागेको र रोस्टर थप गर्नुपर्ने र सेक्टर परिर्तन गरेर भएपनि कोरिया लैजानुुपर्ने उनीहरुको मााग छ । पटक पटक भाषा परीक्षा गर्ने पास गराउने फर्म भर्न लगाउने तर कोरिया नलाने अवस्थाको कारण युवाहरुको भविस्य र सपना डामाडोल र अन्योल भएको मागहरु पुरा नहुन्जेल आन्दोलन निरन्तर रहने उनीहरुको भनाइ छ ।
तस्वीरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

मन्दिर क्षेत्र जोगाउन नदी कटान रोकथाम

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको धार्मिक पर्यटकीयस्थल गायत्री मन्दिरमा बाढी र कटान रोकथाम नियन्त्रण गर्न आवश्यक काम थालिएको छ । सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराले राहुघाट नदीमा आउने बाढीको कटानबाट जोखिममा परेको गायत्री मन्दीर परिसरको तटीय क्षेत्रमा ‘कम्पोजित’ प्रबिधिको पर्खाल निर्माण सुरु गरेको हो ।

राहुघाट नदीको किनारमा ५३ मिटर दुरीमा नदीको सतहदेखि दुई मिटर तलसम्म जग खनेर चार मिटर चौडाईको आरसिसी र माथिल्लो भागमा ग्यावियन भरेर पर्खाल बनाउन लागिएको आयोजना कार्यालयका इञ्जिनियर नरजङ गुरुङले जानकारी दिए । दुई करोड १३ लाख ६६ हजार आठ सय ७८ लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि २०८२ भदौ ४ गते निर्माण कम्पनीसँग रु. एक करोड ४२ लाख ५३ हजार छ सय ४६ मा ठेक्का सम्झौता भएको छ ।

आगामी २०८३ असार २५ गतेभित्र योजना निर्माण सम्पन्न गर्ने ठेक्काको अवधि छ । कम्पनीले राहुघाट नदीलाई डाइभर्सन गरेर पर्खाल निर्माण थालिसकेको छ । गायत्री मन्दिर मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको छ । साधु, सन्तहरु ध्यान तपस्या गर्न आउने यहाँ मन्दिरका साथै उद्यान र धर्माशाला छ । गायत्री मन्दिरको धर्मशालामा मुक्तिनाथ जाने तिर्थयात्रीहरुलाई बसोबासको ब्यवस्था मिलाइएको छ ।

यस वर्ष बेनी सहित म्याग्दी र कालिगण्डकी नदी कटानका कारण जोखिममा परेका बजार तथा बस्ती संरक्षणका लागि म्याग्दी, पर्वत र मुस्ताङ गरेर छ वटा नदी नियन्त्रण तथा बस्ती संरक्षण योजना सुरु भएका आयोजना कार्यालयका प्रमुख बिदुुरमान श्रेष्ठले बताए । ती योजनाको ठेक्का सम्झौता भइ निर्माणका लागि निर्माण व्यवसायी कार्यस्थलमा परिचालन भइसकेका छन् । ती आयोजनाहरुको कुल लागत अनुमान रु. २० करोड २९ लाख ७६ हजार आठसय ३९ रहेको छ ।

 

लागुऔषधसहित १७ जना पक्राउ, यी हुन् पक्राउ परेकाहरू

काठमाडौं– नेपाल प्रहरीले १७ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले नवलपरासी पश्‍चिम , मोरङको विराटनगर, सप्तरी, बारालगायत स्थानबाट पक्राउ परेको हो ।

नवलपरासी पश्‍चिम, सुस्ता गाउँपालिका–३ सेख्वानाबाट लागुऔषध ब्राउनसुगर ३ ग्राम १३० मिलिग्रामसहित २२ वर्षीय अतुल चौधरीसहित दुई जना पक्राउ परेका हुन् ।

चौधरी भारतको कुशीनगर कप्तानगञ्‍ज–११ का हुन् । इलाका प्रहरी कार्यालय बेलटारीबाट खटिएको प्रहरीले उनले चलाएको यूपी ५३ एएक्स ५५९४ नम्बरको कारलाई जाँच गर्दा उक्त पदार्थ फेला परेपछि पक्राउ गरेको जनाएको छ ।

मोरङको विराटनगर महानगरपालिका–११ बसपार्कबाट खैरो हेरोइन १०१ ग्रामसहित ३० वर्षीय पप्पु रामलाई प्रहरीले गएराति पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सप्तरीको सुरूङ्‍गा नगरपालिका–१ सुस्लिङ टोलबाट नाइट्राजेपाम ५० ट्याबलेट, स्पास्मो प्रोक्सिभन ४० ट्याब्लेट, डाइजेपाम १५ एम्पुल, बुप्रेनोर्फिन १५ एम्पुल र फेनारगन १५ एम्पुलसहित २२ वर्षीय रुपेशकुमार चौधरी पक्राउ परेका छन् ।

उनी उदयपुरको त्रियुगा नगरपालिका–३ रामजानकी टोलका हुन् । मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले प्रदेश–१–०५–००१ प ९०८८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाराको सिम्रौनगढ नगरपालिका–३ ब्रह्मस्थानबाट गाँजा करिब १० किलोसहित दुई जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जिल्लाकै पचरौता नगरपालिका–३ रामनगरका ३३ वर्षीय राजकुमार कुशवाहा र २८ वर्षीय पुनदेव पटेल रहेका छन् ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अमृतगञ्‍ज खजानीबाट खटिएको प्रहरीले ना. ५४ प ६१८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट खैरो हेरोइन १९५ ग्राम ५ सय ९० मिलिग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका–५ का ३४ वर्षीय महम्मद समसिरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले काठमाडौंबाट राजविराजतर्फ जाँदै गरेको बा. ५ ख १९६७ नम्बरको हायस गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

जुम्लाको चन्दननाथ नगरपालिका–६ छिना गाउँका २२ वर्षीय कविन्द्र रावल ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

उनको साथबाट प्रहरीले ४ ग्राम ३४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले शंका लागेपछि उनको घर तलासी गरेको थियो । त्यस क्रममा प्रहरीले ब्राउनसुगर फेला पारेको हो ।

मकवानपुरको मनहरी गाउँपालिका–७ मनहरी बजारबाट गाँजा ५३ किलो ५७० मिलिग्रामसहित प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

जिल्लाकै राक्सिराङ गाउँपालिका–९ अठारेका ३० वर्षीय हिरालाल प्रजासहित सात जनालाई मंगलबार राति इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ७७०१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ताबाट फेनारगन ३ एम्पुल, डाइजेपाम ३ एम्पुल र बुप्रेनोर्फिन ३ एम्पुलसहित २४ वर्षीय सरोज मगरसहित दुई जना पक्राउ गरेका छन् ।

मंगलबार साँझ प्रहरीले सोही नगरपालिका–१२ का मगर र उनका एक साथीलाई पक्राउ गरेको हो ।

प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले लाहानबाट गाईघाटतर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ ज ०२५० नम्बरको गाडीलाई जाँच गरेको थियो जहाँ उनीहरू सवार थिए । सोही सवारीमा उक्त लागुऔषध फेला परेको हो ।

प्रहरीले पक्राउ परेकाहरूविरुद्ध लागुऔषध नियन्त्रणसम्बन्धी कानुनका आधारमा अनुसन्धान थालेको जनाएको छ ।

समानुपातिक सूचीमा भएका गल्ती सच्याइनेछ : गणेश पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश पराजुलीले पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा भएका गल्ती सच्याइने बताएका छन् । समानुपातिक सूचीलाई लिएर पार्टीभित्रै तथा बाहिरबाट चौतर्फी आलोचना भइरहेका बेला उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

पराजुलीले लेखेका छन्, ‘सहमति अत्यावश्यक थियो । अन्तिम समयमा महत्वपूर्ण काम भए । समानुपातिक सूचीमा भएका गल्ती सच्याइने छन् । सुशासन र विधि हाम्रो जग हो ।’ पार्टीका नेता–कार्यकर्ता मात्र होइन, समर्थक र नागरिक तहबाट समेत समानुपातिक प्रणालीको मर्मअनुसार सूची समावेशी र निष्पक्ष नभएको आलोचना भइरहेको छ ।

 

गोली लागेको अवस्थामा मृत भेटिए युवक

सिन्धुली । सिन्धुलीमा गोली लागेको अवस्थामा एक युवक मृत भेटिएका छन् । गए राति घ्याङलेख गाउँपालिका–१ पिउरीखोला जंगलमा २२ वर्षीय आशमान तामाङ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार मृतकलाई गोली लागेको छ । मृतकको पेटमा चोट लागेको र घटनास्थलमा बन्दुक पनि फेला परेको छ । ‘घटना कसरी भयो भन्ने यकिन भएको छैन । आफै पड्किएको हो वा कसैले हानेको हो भन्ने फरेन्सिक र पोष्टमर्टम रिपोर्ट आएपछि थाहा हुन्छ,’ एसपी सुवेदीले भने । शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ ।

 

 

निर्वाचन आयोगले भन्यो– रवीन्द्र मिश्रलाई दुःख दिएको छैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ‘दुःख नदिएको’ निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

निर्वाचन खर्च विवरणलाई लिएर आयोगले दुःख दिएको मिश्रको गुनासो थियो । उनले बुधबार बिहान सामाजिक सञ्‍जाल फेसबुकमा आयोगमा बुझाएको निर्वाचन खर्च विवरण सार्वजनिक गर्दै लेखेका थिए, ‘यो निर्वाचन आयोगले पनि दुखै दियो ।’

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले आयोगले अहिले खर्च विवरण बुझाउन पत्र पठाउने र नबुझाउनेको नाम सार्वजनिक गर्ने केही नगरेको बताए ।

उनले निर्वाचन सम्पन्‍न भएपछि तोकिएको समयमा खर्च विवरण नबुझाउनेको नाम भने त्यसबेलै सार्वजनिक गरिएको बताए ।

‘निर्वाचन सम्पन्‍न भएपछि तोकिएको समयभित्र खर्च विवरण नबुझाउनेको नाम तत्कालीन समयमा सार्वजनिक भयो,’ उनले नेपालवान एचडीसँग भने, ‘तर, अहिले आयोगले नबुझाउनेकाे नाम निकाल्ने, पत्र पठाउने, मिडियालाई दिने केही गरेको छैन ।’

उनले सामाजिक सञ्‍जालबाट मिश्रले आयोगसँग गुनासो गरेपछि विज्ञप्ति सार्वजनिक गरेर स्पष्ट पार्ने बताए ।

मिश्रले भने २०७९ मा भएको निर्वाचनको खर्च विवरण सार्वजनिक नगरेको भनेर फेरि सूचना जारी गरेको बताएका छन् । उनका अनुसार आयोग कार्यालयमै पुगेर उनले निर्वाचन सकिएको दुई सातामै अर्थात् २० मंसिर २०७९ मै खर्च विवरण बुझाएका थिए ।

विवरणमा २४ लाख ४९ हजार ६०७ रुपैयाँ निर्वाचन खर्च भएको उल्लेख छ ।

साढे ६ करोड रुपैयाँ निर्वाचनमा खर्च गरेको नेतालाई स्पष्टीकरण सोधेर छोडेको तर निर्वाचन कानुनअनुसार खर्च गर्ने र विवरण बुझाउनेको नाममा पटकपटक सूचना जारी गरेर दुःख दिएको मिश्रले बताए ।

मिश्र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं– १ मा राप्रपाबाट उम्मेदवार बनेका थिए । त्यसबेला उनी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग पराजित भएका थिए ।

त्यसअघि पनि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनी त्यही क्षेत्रबाट निर्वाचन लडेका थिए । त्यसबेला पनि उनी सिंहसँग नै पराजित भए ।

सत्तामा टाँसिइरहने ध्येय छैन : गृहमन्त्री अर्याल

विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन हुने स्पष्ट पार्दै त्यसका लागि सरकारको तयारी सुरु भइसकेको बताएका छन् । आज कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना गरिएको प्रादेशिक सुरक्षा गोष्ठी गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री अर्यालले भने, ‘तोकिएकै समयमा निर्वाचन हुन्छ, सरकारले त्यहीअनुसार तयारी गरिरहेको छ । निर्वाचन लोकतन्त्रको अभिन्न प्रक्रिया हो । निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुन्छ र देश थप अस्थिरतातर्फ धकेलिन सक्छ । त्यसैले सुशासन चाहने हो भने आवधिक निर्वाचनको विकल्प छैन ।’

निर्वाचनलाई भयरहित, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ । सरकारको मुख्य ध्येय तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु रहेको बताउँदै उनले भने, ‘सरकारको ध्यान सत्तामा टिकिरहने नभई निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेतर्फ केन्द्रित छ ।’

जेनजी जनआन्दोलनपछिको असहज परिस्थितिलाई सामान्यीकरण गर्न र सुरक्षाको प्रत्याभूति दिन सरकार सफल भएको उनले दाबी गरे ।गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरू तथा कोसी प्रदेशका १४ वटै जिल्लाका सुरक्षा प्रमुखहरूको सहभागिता रहेको छ । गोष्ठीका क्रममा प्रदेशभित्रका सुरक्षा प्रमुखहरूले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्था, विद्यमान चुनौती, सीमा क्षेत्रको संवेदनशीलता तथा निर्वाचनका समयमा देखिन सक्ने सम्भावित जोखिमबारे विस्तृत ‘ब्रिफिङ’ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

 

 

एमाले उपाध्यक्षकै जिल्लामा ‘असन्तुष्टि’ : पूर्व सांसद घिमिरेले त्यागे पार्टी, रास्वपा प्रवेशको तयारी

बुटवल । नेकपा एमालेको उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गृह जिल्ला रुपन्देही पछिल्लो समय तीव्र राजनीतिक तनावको केन्द्र बनेको छ । पार्टीभित्रको असन्तुष्टि, समानुपातिक उम्मेदवार सूचीप्रति आक्रोश र नेतृत्वबीचको शक्ति संघर्षकै बीच पूर्व सांसद वासुदेव घिमिरेले एमाले परित्याग गर्ने घोषणा गरेका छन् । रुपन्देही क्षेत्र नम्बर ५ बाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित तथा तिलोत्तमा नगरपालिकाका पूर्व नगर प्रमुख घिमिरेले एमाले छाड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेशको तयारी गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत आफू अब एमालेमा नरहेको स्पष्ट पार्दै पार्टी सुधार हुने संकेत नदेखिएको बताएका छन् ।

घिमिरे पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग निकट रहेका थिए । बालेन रास्वपामा आवद्ध भएपछि आफूलाई पनि रास्वपाबाट रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन प्रस्ताव आएको घिमिरेको भनाइ छ । ‘म एमालेमा त रहिनँ, तर प्रस्तावबारे अन्तिम निर्णय भने गरिसकेको छैन’, उनले बताएका छन् ।

यसैबीच, एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवार सूचीमा रुपन्देही जिल्लाबाट एक जनाको पनि नाम नपरेपछि जिल्लाभर असन्तुष्टि चुलिएको छ । हिजो साँझ रुपन्देहीका एमाले कार्यकर्ताले बुटवलस्थित पुष्पलाल स्मृति भवन घेराउ गर्दै प्रदर्शनसमेत गरेका छन् । उनीहरूले केन्द्रीय नेतृत्वले उपाध्यक्ष पौडेलको गृह जिल्लालाई अपमान गरेको आरोप लगाएका छन् । प्रदर्शनकारीहरूको आरोप छ कि समानुपातिक उम्मेदवार सूची महासचिव शंकर पोखरेलको नेतृत्वमा तयार पारिएको हो, जसमा योजनाबद्ध रूपमा रुपन्देहीलाई उपेक्षा गरिएको छ । सूचीमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याल अगाडि रहे पनि रुपन्देहीका कुनै पनि नेता नसमेटिनु अस्वीकार्य भएको उनीहरूको भनाइ छ ।

पार्टीभित्र महासचिव समूहले उपाध्यक्ष पौडेललाई राजनीतिक रूपमा एक्ल्याउने रणनीति अपनाएको आरोप समेत उठेको छ । असन्तुष्ट नेताहरूका अनुसार गत महाधिवेशनमा पौडेल निकट मानिएका लीला गिरी र वासुदेव घिमिरे केन्द्रीय सदस्यमा पराजित गराइनु पनि यही रणनीतिको हिस्सा थियो । अहिले महासचिव पोखरेल निकट भूमिश्वर ढकाललाई रुपन्देही जिल्ला इन्चार्ज बनाउने तयारी भइरहेको चर्चा पनि पार्टीभित्र छ । यही आन्तरिक शक्ति संघर्ष र असन्तुष्टिकै पृष्ठभूमिमा पूर्व सांसद घिमिरेको पार्टी परित्यागलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

एमाले नेतृत्वले जनअपेक्षालाई सम्बोधन गर्न नसकेको भन्दै उनले पार्टी छाडेको घोषणा गरेका छन् । रास्वपामा प्रवेश गरेमा उनी आगामी निर्वाचनमा उपाध्यक्ष पौडेलकै निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धा गर्न सक्ने सम्भावनाले रुपन्देहीको राजनीति थप रोचक बन्ने संकेत देखिएको छ । समग्रमा, एमालेको रुपन्देही संगठन आन्तरिक विवाद, असन्तुष्टि र नेतृत्व संघर्षले कमजोर बन्दै गएको देखिन्छ । पूर्व सांसदको बहिर्गमन र कार्यकर्ताको सडक प्रदर्शनले पार्टी नेतृत्वमाथि दबाब बढ्दै गएको स्पष्ट संकेत दिएको छ ।

शितलहरले दाउन्नेमा राजमार्ग अवरुद्ध, यात्रुहरुको सडकमै बास {तस्वीरहरु}

काठमाडौं । शितलहरका कारण नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध भएको छ । शितलहरका कारण पश्चिम नवलपरासीको दाउन्ने खुर्सानी खोला क्षेत्रको सडक चिप्लो भएको हुँदा सवारी साधन चिप्लिने तथा अड्किने समस्याका कारण राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्गमा केहि दिनदेखिका सवारी साधनहरुको लामो जाम लागेको छ । शितलहरका कारण राजमार्ग अवरुद्ध हुँदा यात्रुहरुले निकै सास्ती पाएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक विनोद जोशीका अनुसार बाक्लो हुस्सुसहित शितलहर परेका कारण सवारी सञ्चालनमा निकै कठिनाई भएको छ । नारायणगढ–बुटवल सडक खण्डको पूर्वी खण्डतर्फ दाउन्नेदेखि दुम्कीबास जंगलसम्म करिब पन्ध्र सय सवारी साधनको जाम लागेको सूचना अधिकारी जोशीले बताए ।

नारायणगढ बुटवल सडक खण्ड योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर विकास खनालाका अनुसार सडक निर्माण भइरहेको स्थानमा शितलहरका कारण बाटो हिलो भएर सवारी साधन दाउन्नेको उकालोमा उक्लन समस्या भएको छ । अहिले खुर्सानी खोला क्षेत्रमा ग्राभेल गर्ने काम भइरहेको र मालबाहक सवारी साधनलाई बर्दघाट, भुताहा क्षेत्रमा रोकिराखेको सूचना अधिकारी खनालले बताए । आज आयोजनाले एक सूचना जारी गर्दै वैकल्पिक सडक प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

पूर्वपश्चिम राजमार्ग हुँदै आउने र जाने सवारी साधन नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल जान सक्ने छन् । यस्तै, कालीगण्डकी चोक (गैंडाकोट) रामपुर पिपलडाँडा हुँदै जान सक्ने छन् । यस्तै काठमाडौंबाट बर्दघाट पश्चिम जानेर बुटवल–काठमाडौं जाने सवारी साधनहरु काठमाडौं–मुग्लिङ–पोखरा हुँदै यात्रा गर्न सक्ने छन् ।

दाउन्ने खण्डमा निर्माण र मर्मतको काम समेत चलिरहेको छ । सो क्षेत्रमा शितलहरका कारण राजमार्ग हिलाम्य हुँदा सवारी साधनहरु सञ्चालनमा कठिनाई उत्पन्न भएको हुँदा अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधनले वैकल्पिक सडक प्रयोग गर्न आयोजनाले अनुरोध गरेको छ । साथै सवारी सञ्चालन गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्न पनि आग्रह गरिएको छ ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी

‘भविष्य सबैभन्दा बलियाहरूको होइन, निरन्तर प्रयास गर्नेहरूको हो’ 

विश्वका सबैभन्दा ठूला विश्वविद्यालयहरूमा पर्ने त्रिवभूवन विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्न पाउनु र तपाईंहरूसँग स्नातक उपाधि प्राप्त गरेको उत्सव मनाउन पाउनु मेरो लागि ठूलो सम्मानको कुरा हो।

दीक्षान्त केवल एउटा औपचारिक कार्यक्रम मात्र होइन; यो एउटा परम्परा हो। यसले जीवनको एउटा अध्यायको अन्त्य र अर्को अध्यायको सुरुवातलाई जनाउँछ। तपाईंहरू अहिले अवसरले भरिएको तर अनिश्चितताले पनि घेरिएको संसारतर्फ अघि बढ्दै हुनुहुन्छ। कृत्रिम बुद्धिमत्ता जस्ता प्रविधिहरूले हाम्रो समाजलाई अहिलेसम्मकै तीव्र गतिमा रूपान्तरण गरिरहेका छन्। जलवायु परिवर्तन, असमानता र भू-राजनीतिक तनावजस्ता वैश्विक चुनौतीहरूले मानव जातिलाई निरन्तर परीक्षामा राखिरहेका छन्, र काम तथा ज्ञानको स्वरूप पनि बदलिँदै गएको छ।

यसको अर्थ, आजपछि सुरु हुने तपाईंहरूको यात्रा सधैं सहज नहुन सक्छ। कहिलेकाहीँ तपाईं आफैंप्रति शङ्का गर्न सक्नुहुन्छ, भविष्य अस्पष्ट देखिन सक्छ। तर म तपाईंहरूलाई एउटा महत्त्वपूर्ण कुरा भन्न चाहन्छु-आज तपाईंहरू यहाँ हुनु आफैंमा तपाईंहरूले चुनौतीहरू पार गरिसकेको प्रमाण हो। तपाईंहरूले दृढता, जिज्ञासा र सङ्कल्प देखाउनुभएको छ। यी गुणहरूले तपाईंहरूलाई भविष्यमा आइपर्ने जुनसुकै अवस्थाबाट पनि मार्गदर्शन गर्नेछन्।

एक भौतिकशास्त्रीका रूपमा मैले मेरो जीवनको ठूलो हिस्सा ब्रह्माण्डका रहस्यहरू बुझ्नमा बिताएको छु। भौतिकशास्त्रीय अनुसन्धानले हामीलाई के सिकाउँछ भने प्रत्येक प्रक्रिया समय लिन्छ, र प्रगति प्रायः ठूलो उपलब्धि नआएसम्म अदृश्य रहन्छ। जीवनमा सफलता पनि यस्तै हुन्छ। यसका लागि बलियो इच्छाशक्ति, निरन्तर प्रयास र परिणाम तुरुन्तै नदेखिँदा पनि तपाईंको काम कुनै अर्थपूर्ण दिशातर्फ अघि बढिरहेको छ भन्ने विश्वास आवश्यक पर्छ।

म मेरो व्यक्तिगत अनुभव तपाईंहरूसँग बाँड्न चाहन्छु। म स्नातकोत्तर विद्यार्थी हुँदा जापानको पहाडी क्षेत्रमा भूमिगत रूपमा स्थापना गरिएको ‘कामियोकाण्डे’ नामक प्रयोगशालामा काम गर्थें। त्यसबेला म प्रोटोन क्षय हुन्छ कि हुँदैन भन्ने विषयमा अध्ययन गरिरहेको थिएँ, जुन त्यतिबेला अत्यन्तै महत्त्वपूर्ण विषय मानिन्थ्यो। प्रोटोन क्षय अवलोकन गर्न नसके पनि, यही अनुसन्धानका आधारमा मैले सन् १९८६ को मार्चमा पीएचडी प्राप्त गरेँ।

तपाईंहरूले पनि यस्ता क्षणहरू सामना गर्नुहुनेछ, जहाँ कुनै स्पष्ट उत्तर हुँदैन। तपाईंहरूले यस्ता निर्णय लिनुपर्नेछ, जहाँ अर्थपूर्ण बाटो सुरक्षित बाटो नहुन सक्छ। यस्ता अवस्थामा म तपाईंहरूलाई जिज्ञासा र साहस अँगाल्न आग्रह गर्दछु।

पीएचडी प्राप्त गरेपछि पनि मैले यो अध्ययन जारी राखेँ। सन् १९८६ को अन्त्यतिर, मैले कामियोकाण्डे डिटेक्टरमा देखिएका प्रोटोन क्षयका पृष्ठभूमि घटनाहरू, विशेष गरी न्यूट्रिनो अन्तरक्रियाहरू, सैद्धान्तिक अपेक्षासँग मेल नखाने कुरा महसुस गरेँ। सुरुमा मलाई लाग्यो, मैले विश्लेषणमा गम्भीर त्रुटि गरेको छु, र त्यो कहाँ भयो भन्ने पत्ता लगाउनैपर्छ भन्ने लाग्यो। यहीँबाट मेरो न्यूट्रिनोसम्बन्धी अनुसन्धान सुरु भयो।

सन् १९८८ मा जब हामीले यस विषयमा शोधपत्र लेख्यौं, त्यतिबेला कामियोकाण्डेका न्यूट्रिनो तथ्याङ्कलाई समर्थन गर्ने अर्को कुनै पनि प्रयोग थिएन। एक वरिष्ठ सहकर्मीले मलाई अझ उपयोगी र महत्त्वपूर्ण विषयमा लाग्न सुझाव दिनुभयो। तर सफलताको निश्चितता नभए पनि, यो विषय आफैं अध्ययनयोग्य र अर्थपूर्ण छ भन्ने विश्वासका कारण मैले यसैमा काम जारी राखेँ।

त्यसको करिब दस वर्षपछि, सन् १९९८ मा, सुपर-कामियोकाण्डे प्रयोगका तथ्याङ्क प्रयोग गरेर हामीले न्यूट्रिनो समस्याको कारण ‘न्यूट्रिनो अक्सिलेसन’ हो भन्ने कुरा पत्ता लगायौं। यसको अर्थ न्यूट्रिनोमा अत्यन्त सानो भए पनि द्रव्यमान हुन्छ। कण भौतिकशास्त्रको अत्यन्त सफल मानक मोडेलले न्यूट्रिनोको द्रव्यमान शून्य मान्दै आएको थियो। त्यसैले न्यूट्रिनो दोलनको खोजले मानक मोडेलभन्दा बाहिरको भौतिकशास्त्र अध्ययन गर्ने नयाँ ढोका खोलेको छ।

वैज्ञानिक खोज, व्यक्तिगत विकासजस्तै, रेखीय हुँदैन। यसमा धेरै बन्द गल्लीहरू, अप्रत्याशित मोडहरू हुन्छन्। अनि कहिलेकाहीँ अचानक ठूलो उपलब्धि प्राप्त हुन्छ। तर यस्ता उपलब्धिहरू हजारौं घण्टाको अदृश्य प्रयासको परिणाम हुन्।

म यो कथा आफ्नै प्रशंसाका लागि होइन, एउटा सन्देश दिनका लागि सुनाउँदैछु। तपाईंहरूले पनि यस्ता क्षणहरू सामना गर्नुहुनेछ, जहाँ कुनै स्पष्ट उत्तर हुँदैन। तपाईंहरूले यस्ता निर्णय लिनुपर्नेछ, जहाँ अर्थपूर्ण बाटो सुरक्षित बाटो नहुन सक्छ। यस्ता अवस्थामा म तपाईंहरूलाई जिज्ञासा र साहस अँगाल्न आग्रह गर्दछु।

संसारलाई कठिन प्रश्न सोध्न नडराउने, नवीन सोच राख्ने, कल्पना गर्ने र निर्माण गर्ने मानिसहरूको आवश्यकता छ। तपाईंहरूले आफैंलाई सोध्न सक्नुहुन्छ-मेरो भूमिका के हो? म के फरक पार्न सक्छु? यसको उत्तर म एउटा सरल विचारमार्फत दिन चाहन्छु: भविष्य सबैभन्दा बलियाहरूले होइन, निरन्तर प्रयास गर्न तयार रहनेहरूले निर्माण गर्छन्।

तपाईंहरू शिक्षक, वैज्ञानिक, इन्जिनियर, नीति निर्माता वा समुदायका नेता जो भए पनि, तपाईंहरूको योगदान महत्त्वपूर्ण हुन्छ। समाज केही असाधारण व्यक्तिहरूका कारण मात्र होइन, धेरै मानिसहरूले निराशाभन्दा दृढता र उदासीनताभन्दा उत्तरदायित्व रोज्दा अघि बढ्छ।

अन्त्यमा, म तपाईंहरूलाई तीन गुण विकास गर्न आग्रह गर्न चाहन्छु।

पहिलो, उद्देश्यबोध। उद्देश्यले तपाईंका निर्णयहरूलाई दिशा दिन्छ। उद्देश्यबिना सफलता खोक्रो लाग्न सक्छ र चुनौतीहरू भारी महसुस हुन सक्छन्। उद्देश्यले अवरोधको सामना गर्दा शक्ति दिन्छ।

दोस्रो, लचिलोपन। जीवन सधैं योजनाअनुसार चल्दैन। योजनाहरू बदलिन्छन्। कहिलेकाहीँ तपाईंको सबैभन्दा राम्रो प्रयासले पनि तुरुन्तै सफलता ल्याउँदैन। लडेर फेरि उठ्ने क्षमता तपाईंले विकास गर्न सक्ने सबैभन्दा ठूलो सीपहरूमध्ये एक हो।

तेस्रो, करुणा र विनम्रता। कोही पनि एक्लैले सफल हुँदैन। तपाईंलाई मार्गदर्शन गर्ने शिक्षकहरू, साथ दिने परिवार र साथमा उभिने साथीहरूप्रति कृतज्ञ रहनुहोस्। तपाईं जीवन र काममा सफल हुँदै जाँदा अरूलाई पनि सँगै उकास्नुहोस्।

अन्त्यमा यति भन्न चाहन्छु, तपाईंहरू सम्भावनाले भरिएको यात्राको सुरुवातमा उभिनुभएको छ। चुनौतीहरू अवश्य आउनेछन्, तर असाधारण अवसरहरू पनि आउनेछन्। तपाईंहरूमा सपना देख्ने, कदम चाल्ने र आफ्ना विचारलाई यथार्थमा रूपान्तरण गर्ने क्षमता छ। बाटो सजिलो हुन्छ भनेर होइन, तपाईंहरूमा त्यो बाटो हिँड्ने शक्ति छ भन्ने विश्वासका साथ आत्मविश्वासका साथ अघि बढ्नुहोस्।

बधाई छ, स्नातक विद्यार्थीहरू। तपाईंहरूको जिज्ञासाले मार्ग देखाओस्, दृढताले तपाईंलाई थामिरहोस्, र तपाईंहरूको योगदानले नेपाल र संसारका लागि अझ उज्यालो भविष्य निर्माण गरोस्।

धन्यवाद र फेरि एकपटक, हार्दिक बधाई।

बादललाई गोकुलको कटाक्ष : रूख–सूर्य मिलेपछि चुनाव लडे भो त !

काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई कटाक्ष गर्दै समानुपातिकबाट नाम फिर्ता लिन आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत बास्कोटाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर चुनाव लड्ने भए समानुपातिकमा नबस्न सुझाव दिएका हुन् ।

‘समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक–पटक बसेपछि यो प्रणालीको विरोध हुनु ठीक हो । अझ तिनै रूख र सूर्य मिलेर चुनावमा जानु पर्छ भन्छन् । रूख–सूर्य मिलेपछि चुनाव लडे भयो त । अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले । समावेशिताकै बेइज्जत नगर के– त्यो पनि पुरूषले !,’ उनले भनेका छन् । उपाध्यक्ष बादलले मंगलबार कांग्रेस र एमाले मिलेर चुनावमा जानुपर्ने धारणा राखेका थिए । अध्यक्ष केपी ओली सामु नै उनले यस्तो विचार राखेका थिए । यसपछि एमालेभित्र यसले बहस सिर्जना गरेको छ ।

 

 

ओखलढुङ्गामा दम्पतीको बीभत्स हत्या

ओखलढुङ्गा । ओखलढुङ्गामा दम्पतीको बीभत्स हत्या भएको छ । चिशङ्खुगढी गाउँपालिका–६ भदौरे निवासी ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगरको मंगलबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । बिहान अबेरसम्म उनीहरू घरबाट बाहिर ननिस्किएपछि छिमेकीले खोजी थालेका थिए । बाहिरबाट बोलाउँदा कुनै पनि प्रतिक्रिया नआएपछि घरभित्र पसेर हेर्दा दुवै मृत भेटिएको छिमेकीले जनाएका छन् ।

घटना अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले धारिलो हतियार प्रहार गरेर दम्पतीको हत्या गरेको देखिएको छ । ‘घटना अनुसन्धान गर्न कोसी प्रदेश प्रहरी कार्यालयको केनाइन शाखा धरानबाट तालिम प्राप्त कुकुर ल्याएका छौँ,’ इन्सपेक्टर भट्टराईले सुनाए, ‘कुकुर राति यहाँ आइपुगेको छ । राति पनि हामीले कुकुरसहित केही अनुसन्धान गर्‍यौं । अहिले बिहानबाट थप अनुसन्धान थालेका छौं ।’

उनले शव अहिले पनि घटनास्थलमै रहेको जानकारी दिए । ‘त्यो घरमा दम्पती मात्रै बस्नु हुने रहेछ, छोराछोरी बाहिर हुनुहुन्छ भन्ने छ ।’ उनले भने । हत्या कसले र किन गर्‍यो खुलेको छैन । दोषी पहिचानका लागि सम्भावित सबै कोणबाट छानबिन भइरहेको प्रहरीले जनाएको छ । ‘हामीले शंकास्पद केही व्यक्तिलाई निगरानीमा राखेका छौँ । अहिलेसम्म कसैलाई पक्राउ गरेका छैनौँ,’ इन्सपेक्टर भट्टराईले भने । केही महिनाअघि पनि सिद्धिचरण नगरपालिका–४ चार्खुकी ५२ वर्षीया रत्नकुमारी कटवाल कार्कीको घरैमा हत्या भएको थियो । कार्कीका हत्यारालाई अझै पत्ता लागेका छैनन् ।

 

नयाँ भनेर प्रश्न नसोधे देउवा, ओली र प्रचण्ड बन्न धेरै समय कुर्न पर्दैन : सागर ढकाल

काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लडेर चर्चामा आएका सागर ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्द सूचीमा त्रुटी भएको बताएका छन् । रवि लामिछाने, कुलमान घिसिङ र बालेन शाहलाई एक ठाउँमा मिलाउने हतारोमै सूचीमा गल्ती भएको उनको दाबी छ ।

ढकालले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सबैलाई समेट्ने प्रयासमा चुक भएको स्वीकार गर्दै त्यसमा सुधार प्रक्रिया अघि बढिरहेको बताएका हुन् । उनले लेखेका छन्, ‘सम्भवतः अझै सच्याउन मिल्ने अवस्था छ । हामी गल्ती नगर्ने होइन, गल्ती गर्छौं तर थाहा पाएपछि सुधार्छौं भनेर उत्तर दिनुपर्छ । आशा छ– कुलमान, रवि र बालेनले समानुपातिक सूचीमा जनताले उठाएको आवाज सुन्नुहुनेछ र सुधार गर्नु हुनेछ । मैले पनि सुन्ने ठाउँमा सुनाउने प्रयास गर्छु ।’

ढकालले आफूलाई नयाँ राजनीतिक विकल्प भन्दै अन्धाधुन्ध विश्वास नगर्न नागरिकहरूलाई स्पष्ट अपिल गरेका छन् । उनले चेतावनीस्वरूप भनेका छन्, ‘सबैलाई प्रश्न नसोध्ने हो भने बालेन, कुलमान र रवि पनि ओली, प्रचण्ड र देउवा हुन धेरै समय कुर्नु पर्दैन ।’ उनका अनुसार प्रश्न नगर्ने संस्कृति र मौन भक्ति नै राजनीतिक विकृतिको मुख्य कारण हो । ‘प्रश्न नसोध्ने र मौन भक्ति गर्ने हो भने देश बन्दैन-चाहे नयाँ हुन् चाहे पुराना । सबै मिलेर जनताको आवाज सुनेर, जवाफदेही भएर मात्रै देश बन्छ,’ ढकालले उल्लेख गरेका छन् ।

 

रास्वपामा विधि मिचेर समानुपातिक सूची : पार्टीभित्र विवाद, बाहिर आलोचना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीले पार्टीभित्र मात्र होइन, सार्वजनिक रूपमा पनि तीव्र विवाद र असन्तुष्टि जन्माएको छ । ‘विधि, पारदर्शिता र नयाँ राजनीति’ को नारा बोकेको रास्वपा आफैंले सुरु गरेको प्राइमरी इलेक्सनको नतिजा मिचेर सूची तयार गरेको आरोपमा आफ्नै नेताहरू, अभियन्ता र समर्थकको घेराबन्दीमा परेको छ ।

सबैभन्दा ठूलो असन्तुष्टि प्राइमरी इलेक्सनबाट शीर्ष स्थान हासिल गरेका उम्मेदवारहरूलाई सूचीमा पछाडि पारिएको विषयमा देखिएको छ । खुलातर्फ सबैभन्दा बढी मत ल्याएका रमेश प्रसाईं खस–आर्य कोटामा पाँचौँ स्थानमा राखिँदा, कम मत पाएका विपिनकुमार आचार्य पहिलो नम्बरमा परेका छन् । यही विषयलाई लिएर ‘आफैंले परीक्षा लिने, आफैं प्रश्नपत्र बनाउने र आफैं पहिलो हुने’ कटाक्ष पार्टीभित्रैबाट उठेको छ ।

यसै सन्दर्भमा केन्द्रीय सदस्य तथा निवर्तमान सांसद डा. तोसिमा कार्कीले ‘प्राइमरी भोटिङकै धज्जी उडाइएको’ भन्दै नेतृत्वमाथि सीधा प्रश्न उठाएकी छन् । पार्टीका पदाधिकारी र सचिवालय सदस्यहरू सधैं ‘पोजिसन अफ बेनिफिट’ मा रहेको आरोप लगाउँदै उनले पद होल्ड गर्नेहरूले प्रत्यक्ष चुनाव लड्ने साहस देखाउनु पर्ने धारणा सार्वजनिक गरेकी छन् ।

असन्तुष्टि केवल प्रक्रियामा सीमित छैन, भूगोल र प्रतिनिधित्वको सवाल पनि चर्को बनेको छ । सभापति रवि लामिछानेको गृह जिल्ला चितवनबाट मात्रै २१ जना उम्मेदवार समेटिँदा सुदूरपश्चिमबाट दुई जना मात्रै पर्नु गम्भीर असन्तुलनको उदाहरण बनेको छ । जेनजी आन्दोलनकी अगुवा रक्षा बमले ‘मेरो सुदूर अझै पनि सुदूर नै छ’ भन्दै समानुपातिक प्रणालीलाई ‘सांसद पद बिक्री र नातेदार भर्ती गर्ने केन्द्र’ बनाइएको आरोप लगाएकी छन् ।

रास्वपासँग एकता गरेका उज्यालो नेपाल पार्टी (उनेपा) भित्र पनि असन्तुष्टि उस्तै छ । उनेपाबाट पहिलो नम्बरमा सिफारिस गरिएका डा. महेन्द्र लावतीलाई संयुक्त सूचीको १२ नम्बरमा राखिएपछि उनले आफ्नो नाम नै हटाउन आग्रह गरेका छन् । उनेपाले पाउनु पर्ने २२ सिटमध्ये १४ मा सीमित हुनुपरेको गुनासो पनि छ ।

सूचीमा सेलिब्रेटी, व्यापारी, इन्फ्लुएन्सर र चिनजानका व्यक्तिहरूलाई प्राथमिकता दिएको आरोप बाहिर पनि तीव्र रूपमा उठेको छ । अभियन्ता आशिका तामाङले ‘निमुखाका लागि छुट्याइएको समानुपातिक कोटामा मिस नेपालले अवसर पाउने’ कटाक्ष गर्दै नयाँ दलहरू पनि पुरानै अभ्यासमा फसेको टिप्पणी गरेकी छन् ।

रास्वपाको समानुपातिक सूचीमा गायक–गायिका, अभिनेता–अभिनेत्री, पूर्व मिस नेपाल र मिस्टर नेपालसम्म परेपछि ‘प्रतिनिधित्व कि पहुँच ?’ भन्ने प्रश्न झन् बलियो बनेको छ । रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङको त्रिकोणात्मक एकताबाट ठूलो राजनीतिक सन्देश जाने अपेक्षा गरिएको बेला सार्वजनिक भएको यो सूचीले भने रास्वपाभित्र गहिरो दरार देखाएको छ । नयाँ राजनीतिक संस्कृतिको दाबी गर्ने दल आफैं पुरानै रोगले ग्रस्त भएको हो कि भन्ने प्रश्न अब पार्टीभित्र मात्र होइन, जनस्तरमै उठ्न थालेको छ ।

 

‘निमुखालाई छुट्याएको समानुपातिकमा त ‘मिस नेपाल’ ले पो अवसर पाउने रहेछन्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरूको बन्द सूचीप्रति अभियान्ता आशिका तामाङले असन्तुष्टि जनाएकी छन् ।

समानुपातिक सूचीमा सेलिब्रेटी, व्यापारी र आफन्तलाई राखिएको भन्दै उनले असन्तुष्टि पोखेकी हुन् । तामाङले नयाँ दलहरू पनि पुरानै दल जस्तै देखिएको भन्दै आपत्ति जनाएकी छन् ।

आशिकाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘मलाई त लागेको थियो नयाँबाट एउटा पनि गल्ती हुने छैन र पुरानाले औंला उठाउने मौका पाउने छैनन् ! तर त्यस्तो त होइन रहेछ । यहाँ त निमुखा वर्ग र जातिहरूका लागि छुट्याइएको कोटाहरूमा त मिस नेपाल हुने रहेछन् । आफ्नो ससुराबा, देश बेचुवा ठेकेदारको छोरा, आफ्नो आगडि पछाडि दौडिरहने आसेपासे, हुँदाहुँदा छिमेकी र अझ त्यतिले नपुगेर सानोमा स्कुल पढ्ने साथी सांसद र मन्त्री हुने अवसर पाउने रहेछ !’

स्मरणीय छ, रास्वपाको समानुपातिक सूचीमा गायक प्रकाश सपुतदेखि गायिकाद्वय सत्यकला राई, डा. त्रिशला गुरुङ, अभिनेता आशिफ साह, अभिनेत्री रिमा विश्वकर्मा, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ र पूर्व मिस्टर नेपाल तथा चिकित्सक डा. रुपक विश्वकर्मा घिमिरे रास्वपाको समानुपातिक सूचीमा परेका छन् । रास्वपाले सभापति रवि लामिछानेको गृहजिल्ला चितवनबाट २१ जना सूचीमा पार्दा सुदूरपश्चिम प्रदेशबाट दुई जनामात्रै परेपछि पार्टी भित्र र बाहिर आलोचना भइरहेको छ ।

राष्ट्रपति र पूर्व राष्ट्रपतिका छोराछोरी पनि राजनीतिक दौडमा

काठमाडौं । नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा राष्ट्रपति र पूर्व राष्ट्रपतिका छोराछोरी पनि परेका छन् । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी र पूर्व राष्ट्रपति रामवरण यादवका छोरालाई राखिएको हो ।

खस आर्यमा महिलातर्फ राष्ट्रपति पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल रहेकी छन् । संज्ञा कांग्रेस महाधिवेशन प्रतिनिधि पनि हुन् । त्यस्तै, पूर्व राष्ट्रपति यादवका छोरा डा. चन्द्रमोहन यादवलाई मधेसी पुरुषतर्फ समानुपातिक सूचीमा राखिएको छ । चन्द्रमोहन कांग्रेको केन्द्रीय सदस्य पनि हुन् । त्यस्तै, सोलुखुम्बाट पूर्वमन्त्री बलबहादुर केसीकी पत्नी रिना उप्रेती पनि समानुपातिक सूचीमा छिन् ।
कांग्रेसको समानुपातिक उम्मेदवार सूची

सुदूरपश्चिममा ‘पुस पन्ध्र’

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा मनाइने पुस पन्ध्र एक मौलिक, ऐतिहासिक र सांस्कृतिक रूपमा अत्यन्त महत्वपूर्ण पर्व हो । यो पर्व सुदूरपश्चिमको पहिचानसँग गहिरो रूपमा जोडिएको छ र पुस्तौँदेखि स्थानीय जनजीवनमा निरन्तर रूपमा मनाइँदै आएको छ । पुस पन्ध्रलाई त्यहाँ केवल चाडका रूपमा मात्र नभई लोकसंस्कृति, सामूहिकता र परम्पराको प्रतीकका रूपमा लिइन्छ ।

यस दिन सुदूरपश्चिमका अधिकांश भूभागमा भुच्चाने वा ढुकढुक्या रोटी खाने चलन छ । यो रोटी चामलको पिठोलाई घिउ र चिनीको पानीमा मुछेर बनाइन्छ भने कतिपय ठाउँमा दहीमा मुछेर पनि बनाउने प्रचलन छ । कतिपय समुदायमा पुस पन्ध्रको रात १५ प्रकारका परिकार बनाएर खाने परम्परा रहेको छ । साथै, विभिन्न किसिमका फलफूल संकलन गरी साथीभाइ भेला भएर रातभर जाग्राम बस्ने चलन पनि व्यापक छ ।

विशेष गरी जंगलबाट ल्याइने तरुल (तोण) अत्यधिक मात्रामा खाने भएकाले यो रातलाई ‘तरुल रात’ पनि भनिन्छ। असार १५ लाई वर्षको सबैभन्दा छोटो दिन मानिएझैँ सुदूरपश्चिमको लोकमान्यतानुसार पुस पन्ध्रको रातलाई सबैभन्दा लामो रात मानिन्छ । यही कारणले आजको रातलाई सुदूरपश्चिममा ‘ठूली रात’ पनि भनिन्छ । आजको राति परिवार र छिमेकी भेला भई लोककथा, दन्त्यकथा र रमाइला बातै सुनाउँदै रात बिताउने चलन छ।

पुसे पन्ध्रलाई लोकसंस्कृतिको पर्वका रूपमा पनि लिइन्छ। कतिपय ठाउँमा रात काट्न देउडा खेल्ने परम्परा छ। यस दिन घाँस काट्ने हँसिया र दाउरा चिर्ने बञ्चरो नचलाउने मान्यता पनि पाइन्छ । यसरी, पुस पन्ध्र सुदूरपश्चिमको सामाजिक, सांस्कृतिक र भावनात्मक एकताको महत्वपूर्ण पर्व हो।

सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड क्षेत्रमा पुस १५ देखि उत्तरायण सुरु भई दिन बढ्दै र रात घट्दै जाने लोकविश्वास रहेको छ।

केबीआरको वैकल्पिक राजनीति : कस्तो विकल्प, कसलाई विकल्प ? (भिडियाेसहित)

  • केबीआरको ट्रायोले नवयुवाको विश्वासलाई कायम राख्न गाह्रै पर्ने देखिन्छ  
  • नवयुवाका प्रश्न बामपन्थी कि उदारवादी कि दक्षिणपन्थी भन्ने हुँदै होइन  
  • अहिलेको रास्वपा तीनवटा व्यक्तिगत कल्टको गठजोड हो

०६२–६३ को जनआन्दोलनपछि नेपालमा वैकल्पिक राजनीति र वैकल्पिक राजनीतिक पार्टीको बहस तथा विभिन्न खाले अभ्यास सुरु भयो। झन्डै दुई दशकपछि अर्को आन्दोलनको जगमा यो शक्ति राष्ट्रिय राजनीतिको मुलधार बन्ने देखिएको छ ।

जेनजी विद्रोहको जगमा कुलमान-रवि-बालेन मिलनले वैकल्पिक राजनीतिको शक्ति ह्वात्तै बढ्ने अनुमान गर्न सकिन्छ । यसअघि विवेकशील साझाको रास्वपामा विलयले केही न केही जनमत पक्कै बढाउने नै छ । जनमतभन्दा पनि ठूलो कुरा वैकल्पिक र आदर्श राजनीतिका मार्गदर्शक मानिएका उज्वल थापाको’लिगेसी’पाउने छ।

सशर्त नै सही, विद्रोही जेनजी अगुवाको पनि समर्थन र सहभागिता रहेको रास्वपाले फागुन २१ को चुनावमा बहुमत ल्याउने, बहुमत नल्याए पनि सबैभन्दा ठूलो पार्टीका रुपमा सरकार बनाउने अनुमान धेरैले गरिरहेका छन् । यही आँकलनसहित नै काठमाडौंका मेयर बालेन शाह रास्वपा प्रवेश गर्दै प्रधानमन्त्रीको उम्मेदवार बनेका हुन् ।

कुलमान, बालेन र रविबीच भएको एकता, अधिकांश जेनजी आन्दोलनका अगुवा तथा समूहहरूले साथ दिएपछि रास्वपा वैकल्पिक राजनीतिको मुलधार बन्ने देखिएको छ। कतिपयले यही पार्टीले बहुमत ल्याउने अनुमान गरिरहेका छन् । यही आँकलनकै आधारमा बालेनले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा देखिरहेका छन् । बहुमत प्राप्त नगर्दा पनि यो दल नेपालको ठूलो राजनीतिक दलमध्ये एक बन्ने निश्चित छ । तर,सामाजिक सञ्जालको शक्ति प्रयोग गरेर उदाएका बालेन र लोकप्रियतावादको छहारीमा रमाइरहेका रवि लामिछानेबीचको यो गठबन्धनले कस्तो विकल्प बन्ला त ? उदाउँदो शक्तिमाथि प्रश्नहरू हुने नै भए । विश्वास नजितेसम्म समर्थन पनि शंकासहित हुन्छ, अर्थात् शंकाको सुविधा ।

वैकल्पिक राजनीति नेपालमा भइरहेको विल्कुलै नौलो अभ्यास होइन । २१औँ शताब्दी संसारभर वैकल्पिक राजनीतिको बहसको युग बनेको छ । विश्व राजनीतिमा परम्परागत दलहरू बामपन्थ, उदारवाद, मार्क्सवादजस्ता विचारधाराका आधारमा खडा भएका थिए । तर, समयक्रममा ती विचारधाराले उत्पादन गरेको राज्य–व्यवस्था स्वयं गहिरो सङ्कटमा फसेपछि नयाँ राजनीतिक प्रयोगको खोजी सुरु भयो।

सोभियत संघको विघटनपछि उदारवादी लोकतन्त्रलाई इतिहासको अन्तिम गन्तव्य ठानियो । तर,यो भ्रम चाँडै नै चकनाचुर भयो । आर्थिक असमानता, नवउदारवादी संरचनाबाट पैदा भएका सङ्कट,पर्यावरणीय विनाश,पहिचानको राजनीति र डिजिटल प्रविधिको राजनीतिक हस्तक्षेपले परम्परागत पार्टीहरूको वैधतामाथि प्रश्न उठायो। यही पृष्ठभूमिमा विश्वभर वैकल्पिक राजनीतिक दल र आन्दोलनहरू देखापरे ।

पश्चिमी दुनियाँमा ग्रिन पार्टी, पोडेमस, ला फ्रान्स इन्समिज, पाइरेट पार्टीजस्ता दलहरू सामाजिक आन्दोलनको जगमा उभिए। यिनीहरू परम्परागत दलले सम्बोधन गर्न नसकेका नयाँ मुद्दा बोकेर आएका थिए। यद्यपि, यी दलहरू पनि अन्ततः नवउदारवादी संरचनाभित्रै सीमित हुँदै गएको आलोचना बढ्दो छ।

दक्षिण एसियामा आम आदमी पार्टीको उदयले “सेवाको डेलिभरी” र “भ्रष्टाचारविरोध”लाई वैकल्पिक राजनीतिको मूल नारा बनायो। यही प्रभाव नेपालमा पनि पर्यो। बाबुराम भट्टराईको नयाँ शक्ति, उज्ज्वल थापाको विवेकशील नेपाली पार्टी, पछि साझा पार्टी, जनमत पार्टी र पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी यही राजनीतिक चिन्तनका उपज हुन्।

नेपालामा भने वैकल्पिक राजनीतिले गएको स्थानीय निर्वाचनमार्फत ठूलो धक्का दियो । काठमाडौंको मेयरमा बालेन शाह निर्वाचित भएपछि संसारभरी उनको चर्चा भयो । देशभित्र धरानका हर्क साङपाङ र धनगढीका गोपी हमालको पनि चर्चा कम थिएन ।

स्थानीय चुनावमा स्वतन्त्रको सफलता देखेर नै हो, टेलिभिजनमा कार्यक्रम चलाइरहेका रविले रातारात राष्ट्रिय स्वतन्त्र पार्टी खोलेको । पार्टी खोलेको ६ महिना पनि नपुग्दै २७५ जनाको संसदमा २२ जना सांसद बनाएर चौथो पार्टी हुनु चानचुने सफलता थिएन ।

रास्वपाको उदयले नेपालको राजनीतिमा ठूलै तरङ्ग पैदा गरेको हो । तर,पार्टी सभापति रवि लामिछानेमाथि लागेको सहकारी प्रकरणले रास्वपाको नैतिक दाबीलाई गम्भीर धक्का पुर्‍यायो। यसले वैकल्पिक राजनीतिको एउटा पुरानै समस्या फेरि उजागर गरेको हो- व्यक्तिमा केन्द्रित राजनीति । अब केबीआरको ट्रायोले यो नैतिक प्रश्नमा कस्तो जवाफ दिएला ? चुनावपछि उनीहरूले गर्ने राजनीतिले जवाफ दिने छ ।

केबीआरको यो ट्रायोलाई नवयुवाको राम्रै समर्थन देखिन्छ । सामाजिक सञ्जालमा हुर्किएको, परम्परागत पार्टी संरचनाप्रति असहिष्णु, विचारधाराभन्दा परिणाम र इमानदारी खोज्ने पुस्ताले खुला रूपमा राजनीतिक असन्तोष व्यक्त गरिरहेको यो पुस्ताले सरकारबाट तात्तातो सुधार चाहिरेहको छ । उसका माग धेरै सैद्धान्तिक छैनन्, सेवा प्रवाहमा सुधार गर र भ्रष्टाचार नियन्त्रण गर भन्ने नै नवयुवाका माग हुन् ।

उनीहरू चाहन्छन्, देशमै बसेर गरिखान सकियोस् । डाक्टर-इन्जिनियरको पढाइ, कम्युटर इन्जिनियरको पढाइ देशमै गतिलो होस् । नवयुवाको यो चाहनालाई पूरा गर्ने कार्यक्रम के छ त ? प्रष्ट जवाफ नहुने हो भने केबीआरको ट्रायोले नवयुवाको विश्वासलाई कायम राख्न गाह्रै पर्ने देखिन्छ । किनभने यो पुस्ता तीन सेकेन्डको भिडियोवाला पुस्ता हो, बा-बाजे पुस्ताले जस्तो पर्खेरै जीवन बर्बाद पार्न चाहँदैन ।

नवयुवाका प्रश्न बामपन्थी कि उदारवादी कि दक्षिणपन्थी भन्ने हुँदै होइन । यो पुस्ताको प्रश्न त राज्य किन काम गर्दैन?, सत्तामा पुगेपछि नेताहरू किन जवाफदेही हुँदैनन्? र, राजनीति किन नागरिक जीवनभन्दा पर-पर उछिट्टिँदै जान्छ भन्ने हो ? यी प्रश्नको जवाफ सिद्धान्तका ठेलीमा होइन, नैतिक आचरण र जवाफदेही व्यवहारमा पाइन्छ ।

यो पुस्ताले हिजोको बाम पुस्ताले जस्तो समाजवादको नारा र झण्डा बोकेको त छैन, नवउदारवादले सिर्जना गरिरहेको संरचनागत समस्यालाई भने दह्रै प्रश्न गरिरहेको छ । सरकार र दल जनताको दैलो छोडेर कर्पोरेट टाइकुनका वरिपरि घुमेको देखि लिएर नीति निर्माणदेखि बजेट बनाउने ठाउँसम्म बत्ति निभाएर उनीहरू प्रवेश गरे भनेरै त यो पुस्ता रिसाएको हो । सहमति पत्रमै उदार अर्थनीति मान्छौं भन्ने केबीआरको ट्रायोले जवाफ त पक्कै दिनुपर्छ कि कर्पोरेट-सरकारको अनैतिक साँठगाँठलाई कसरी ठेगान लगाउँछौ ?

मिटरब्याजको समस्या ज्युँकात्युँ छन्, सहकारीपीडितले पैसा फिर्ता पाएका छैनन्, उखु किसानको दुःख कसले बुझ्ने यो देशमा ? यी त सतहमा देखिएका समस्या हुन्, खोज्दै जाने हो भने निकुञ्जले उठाएका तराईका आदिवासीदेखि बाँदरले लखेटेका पहाडका गाउँका मान्छेका दुःखको बेलिबिस्तार लामै छ ।

यस्ता समस्याको समाधान देऊ भनेरै वैकल्पिक राजनीतिको बागडोर केबीआरलाई सुम्पिन जेनजी विद्रोही तयार भएका हुन् । उदार अर्थनीतिले अर्थसंरचनामा सबैभन्दा पिँधमा रहेका यी वर्गलाई सुन्छ ? छुन्छ? भोट माग्न जाँदा जवाफचाहिँ जति लोकप्रिय भए पनि केबीआरले दिनुपर्ने हुन्छ । उदारवादी अर्थनीतिले सबैभन्दा धेरै थिचिएका जनतालाई विकल्प दिए पो वैकल्पिक त, होइन र?

एउटा कुरा निर्ममताका साथ भन्नै पर्ने हुन्छ, अहिलेको रास्वपा तीनवटा व्यक्तिगत ‘कल्ट’को गठजोड हो । व्यक्तिलाई सर्वेसर्वा मान्ने राजनीतिको विकल्पका रूपमा लोकतान्त्रिक विधि र पद्धतिमा चल्ने जवाफदेही दल र त्यसले चलाउने सरकार खोजेका हुन् जनताले ।

व्यक्तिगत लोकप्रियताको उत्कर्ष अभ्यास गरिरहेका केबीआरले पार्टी कसरी चलाउँछन्, सरकार कसरी चलाउँछन् ? समाजले प्रश्न त सोधि नै रहन्छ । व्यक्तिगत महत्वकांक्षा, लोकप्रिय ता को भरमा बलमिच्याइँ, अपारदर्शी जीवनशैली र शासनशैली कसरी व्यवस्थापन हुन्छ ? यो प्रश्नको जवाफमा नै यो दल कति दीर्घकालीन यात्रामा जान्छ भन्ने निर्भर हुन्छ ।

पुराना नेता गुरु र नयाँ शिष्यजस्तै हुनुपर्छ : सुनिता डंगोल

काठमाडौं । एमाले केन्द्रीय सदस्य तथा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पार्टीमा युवा नेताहरूलाई उपयुक्त जिम्मेवारी दिन माग गरेकी छिन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसामु उनले यस्तो माग गरेकी हुन् ।

पार्टी महाधिवेशनबाट क्लस्टर छुुट्टयाएर केन्द्रीय सदस्य बनाएपछि उपयुक्त जिम्मेवारी दिनुपर्ने र त्यसो गर्दा युवाहरूसँग पार्टीले जे अपेक्षा गरेको छ, त्यो पूरा हुने बताइन् ।

पार्टीमा पुस्तान्तरण एक व्यक्तिलाई हटाएर अर्कोलाई ल्याउँदैमा नहुने धारणा राखेकी छिन् । यसबाहेक पार्टीमा नयाँ र पुराना नेताहरूबीच अन्तरसिकाइमा जोड दिएकी छिन् ।

मंगलबार मदन–आश्रित स्मृति प्रतिष्ठानले राजधानीमा आयोजना गरेको विचार गोष्ठीमा उनले भनिन्, ‘पुराना नेता गुरु र नयाँ शिष्यजस्तै हुनुपर्छ ।’

 

कांग्रेस सभापतिमा पूर्ण, शेखर र गगनबीच प्रतिष्पर्धाको संकेत, देउवाकाे साथ कसलाई ?

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १५औं महाधिवेशनमा सभापतिका लागि त्रिकोणीय प्रतिष्पर्धा हुने संकेत देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच प्रतिष्पर्धा हुने सम्भावना रहेको बताउँदै पहिलो चरणमै नतिजा नआउने दाबी गरेका छन् ।

महाराजगञ्जस्थित निवासमा नेताहरू तथा शुभेच्छुकहरूसँगको अनौपचारिक भेटघाटमा देउवाले महाधिवेशन जुनसुकै समयमा भए पनि दोस्रो चरणमा मात्रै नेतृत्व चयन हुने अवस्था देखिएको बताएका हुन् । ‘शेखर पनि लड्नु हुन्छ, पूर्णबहादुर त कार्यवाहक नै भएकाले लड्नु हुन्छ, गगन त लडिहाल्नु हुन्छ’, भन्दै देउवाले पहिलो चरणमै परिणाम आउने सम्भावना न्यून रहेको धारणा राखेका थिए ।

यद्यपि, पछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा देउवाले आफ्नो समर्थन स्पष्ट रूपमा पूर्णबहादुर खड्कालाई रहने बताएका छन् । उपसभापति भइसकेको र हाल कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिरहेका खड्कालाई नै सहयोग गरेर अघि बढ्ने उनको भनाइ छ । ‘मैले पूर्णबहादुरलाई नै सहयोग गर्छु । अरूलाई पनि यही कुरा भनेको छु’, देउवाले स्पष्ट पारे । आफू भने अब सभापतिको उम्मेदवार नहुने देउवाले दोहोर्‍याएका छन् । विधानअनुसार तीन पटकभन्दा बढी सभापति हुन नमिल्ने उल्लेख गर्दै उनले भावी नेतृत्वलाई आवश्यक परे सल्लाह दिने तर प्रत्यक्ष हस्तक्षेप नगर्ने बताएका छन् । ‘म गिरिजाबाबुसँग पनि लडेको हुँ, शेखर–गगन पनि मसँग लडेका हुन्’, भन्दै उनले पार्टीभित्र प्रतिष्पर्धालाई स्वाभाविक प्रक्रियाका रूपमा लिने बताएका छन् ।

डा. शेखर कोइराला र गगन थापा सभापतिको दाबेदार हुने चर्चा चलिरहे पनि औपचारिक रूपमा सहयोग मागेर आफू कहाँ नआएको देउवाले बताएका छन् । गगन थापा भने भेटघाटका क्रममा आए पनि आफूले खड्कालाई सहयोग गर्ने कुरा स्पष्ट रूपमा सुनाएको देउवाको भनाइ छ । विशेष महाधिवेशनको बहसबारे देउवाले नकारात्मक धारणा राखेका छन् । निर्वाचनको मिति तय भइसकेको अवस्थामा विशेष महाधिवेशन सम्भव नरहेको भन्दै त्यसले पार्टीभित्र थप तिक्तता बढाउने उनको तर्क छ । ‘महाधिवेशनमा हार्नेको रिस चुनावमा असर गर्छ’, भन्दै उनले निर्वाचनअघि नेतृत्व परिवर्तनको बहस अव्यावहारिक भएको बताए । समग्रमा, कांग्रेस महाधिवेशन नजिकिँदै जाँदा सभापतिका लागि बहुपक्षीय प्रतिष्पर्धा देखिए पनि देउवाको राजनीतिक वजन भने पूर्णबहादुर खड्कातर्फ केन्द्रित हुँदै गएको स्पष्ट संकेत देखिन्छ ।

‘विचार सिचार छैन, त्यसै कुदेको छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ राजनीतिक दलहरूलाई ‘विचारविहीन’ समूहको रूपमा अर्थ्‍याएका छन् । ती दलका नेताहरूले राजनीतिक भाषा नबोल्ने र सामाजिक सञ्‍जालमा गाली मात्रै गर्ने गरेको उनले बताए । त्यसरी राजनीति नहुने ओली बताउँछन् । ‘नयाँ खुलेका दलहरूलाई राजनीतिक भाषा बोल्न आउँदैन । विचार सिचार केही छैन । त्यत्तिकै कुदेको छ, हाहु गरेको छ,’ उनले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भने, ‘सामाजिक सञ्‍जालमा तथानाम बोलेको छ । त्यसको भरमा राजनीति हुने होइन ।’

नयाँ दलहरूलाई उनले दल मान्न अस्वीरकार गरेका छन् । दल हुन आवश्यक राजनीतिक दर्शन, सिद्धान्त, विचार, कार्यदिशा नयाँ दलहरूमा केही पनि नभएको बताए । यससँगै ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले गठबन्धन गरेर जाने संकेत गरेका छन् । उनले लोकतन्त्रको पुनर्स्थापना र संविधानलाई जीवन्तता दिन यी दुई दल मिल्नुपर्ने औँल्याए ।

‘अहिले प्रतिस्पर्धाको समय होइन । अहिले लोकतन्त्र र संविधानको पुनर्स्थापना हो । शान्ति पुनर्स्थापना हो । त्यो अभिभाराका लागि दुई दल एक भएर जानुपर्छ मिलेर जानुपर्छ,’ ओलीले भने, ‘लोकतन्त्र सुदृढ र स्वतन्स्त्र भएपछि हामी स्वस्थ प्रतिस्पर्धा गर्छौं ।’ रास्वपासँग पालैपालो कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह एकता प्रक्रियामा जोडिएपछि ओलीले कांग्रेस–एमाले पनि निर्वाचनमा गठबन्धन गरेर जानेतर्फ स्पष्ट संकेत गरेका हुन् ।

 

बादलको बाचा : मदन–आश्रितका हत्यारालाई कानुनको कठघरामा उभ्याउनेछौं

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापाले मदन भण्डारी र जीवराज आश्रितका हत्यारालाई कानुनको कठघरामा उभ्याएर छोड्ने प्रतिबद्धता जनाएका छन् । मदन–आश्रित प्रतिष्ठानले आयोजना गरेको विचार विमर्शलाई सम्बोधन गर्दै उनले यस्तो बाचा गरेका हुन् । उनले दासढुंगा घटना सुनियोजित षड्यन्त्र भएको जिकिर गरे । उनले उक्त घटना नेपालविरोधी जनविरोधीहरूको षड्यन्त्र रहेको बताए । अहिलेसम्म मदन–आश्रितका हत्यारालाई कानुनको कठघरामा ल्याउन नसकेको भए पनि एक दिन कानुनको कठघरामा उभ्याउने दावी गरे ।

उनले भने, ‘दासढुंगा घटना जुन भयो । दासढुंगा घटना जहाँ मदनआश्रितको निधन भएको थियो । त्यो एउटा सडक दुर्घटना थियो वा सुनियोजित दुर्घटना थियो । एउटा हत्या षड्यन्त्र थियो । त्यो बेला यो प्रश्न उठेको थियो । छानबिनले के साबित गर्‍यो, निष्कर्ष के निस्कियो भने नेपालविरोधी जनविरोधीहरूको भयङ्कर षड्यन्त्र थियो । षड्यन्त्रअन्तर्गत नै मदन आश्रितको हत्या गरिएको थियो । हामीले ती हत्याराहरू कानुनको कठघरामा ल्याउन सकिरहेका छैनौँ । तर एक दिन हामी मदन आश्रितको हत्यारालाई कानुनको कठघरामा उभ्याउनेछौँ ।’

उपाध्यक्ष थापाले भाद्र २३ र २४ गते नेपालमा भएको घटना साधारण नभएको बताए । २४ घण्टाभित्र राज्यका तीन वटै अङ्गहरूलाई ध्वस्त बनाइनु, आगजनी गरिनु, राजनीतिक दलका नेताहरूमाथि आक्रमण र आगजनी हुनुले सामान्य नभएको बताए । उक्त घटना जनविद्रोह, जनक्रान्ति वा अग्रगमन नभएको बताउँदै उक्त घटना प्रतिक्रान्ति र प्रतिगमन भएको बताए ।

उनले भने, ‘त्यसको झण्डै तीन दशक भन्दा बढी समयपछि २०८२ मा आउँदा यो प्रश्न उठेको छ । भाद्र २३ र २४ गते जुन घटना भयो नेपालमा । एउटा असाधारण घटना । २४ घण्टाभित्र राज्यका तीन वटै अङ्गहरूलाई ध्वस्त बनाइयो । आगजनी गरियो । राजनीतिक दलका नेताहरूमाथि आक्रमण गरियो, आगजनी गरियो । यो घटना सामान्य घटना होइन । यो असाधारण घटना हो ।’ उनले भने, ‘यहाँको जननिर्वाचित सरकार र सदन दुवै विघटन गरियो । न्यायपालिकालाई आगो लगाइयो । त्यसकारण आज फेरि एउटा प्रश्न उठेको छ । त्यो जनविद्रोह थियो ? जेनजीको आवरणमा गरिएको घटना हो । वा यो प्रतिगमन थियो, प्रतिक्रान्ति थियो ? यो प्रश्न उठेको छ । भदौ २३ र २४ को घटना जनविद्रोह थिएन । जनक्रान्ति थिएन । अग्रगमन थिएन । प्रतिगमन थियो । प्रतिक्रान्ति थियो ।’ उपाध्यक्ष थापाले अहिले नेपाल भूराजनीतिको सिकार भएको बताए । संसद विघटन र जननिर्वाचित सरकार विघटन गरेर लोकतन्त्र अपहरण गरिएको बताएका छन् ।

मन्त्री घिसिङको चेतावनी : सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मत ढिलाइ गरेमा निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने बताएका छन् । समयमै काम सम्पन्न नगरेमा पेनाल्टी तिर्नुपर्ने व्यवस्था लागू गरिने र आवश्यक परे ठेक्का नै रद्द गर्न बाध्यता हुने उनले बताएका हुन् । आज सडक बोर्ड नेपालको २३औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले तोकिएको समय सीमाभित्र सडक निर्माण तथा मर्मत नसक्ने निर्माण व्यवसायीप्रति सरकार अब सहनशील नहुने बताए ।

उनले भने, ‘कम रकममा ठेक्का लिएर समयमै काम नगर्ने र बारम्बार ढिलाइ गर्ने कतिपय निर्माण व्यवसायीको हामीले ठेक्का रद्द गरेका छौँ । यो सरकारको रहर होइन, बाध्यता हो । अब सडक मर्मतमा ढिलाइ गरिए पेनाल्टी तिर्नुपर्ने अवस्था आउँछ ।’ देशभर सुधार गर्नुपर्ने सडकको संख्या अत्यधिक रहे पनि सीमित बजेटका कारण सबै सडक समयमै मर्मतसम्भार गर्न नसकिएको उनको भनाइ छ । ‘संघ, प्रदेश र स्थानीय तहबाट सडक मर्मतका लागि निरन्तर माग आइरहेको छ’, उनले भने, ‘तर बजेटको सीमितताले गर्दा सबै माग तत्काल सम्बोधन गर्न सकिरहेका छैनौँ ।’
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सडक निर्माण मात्र विकासको सूचक नभएको स्पष्ट पारे ।

उनले सडक उपभोग योग्य नबनेसम्म विकास अधुरो रहने उल्लेख गर्दै भने, ‘विकास भनेको सडक बनाएर मात्रै हुँदैन । बनेको सडकमा सवारी साधन सहज रूपमा चल्नुपर्‍यो । बिग्रेका सडक समयमै मर्मत गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो ।’ सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीले समयमै मर्मतसम्भार नगरिँदा सडकको लागत तीनदेखि चार गुणासम्म बढ्ने गरेको तथ्य औंल्याए । सडक विभागका महानिर्देशक डा. विजय जैसीले सडकलाई विकासको मेरुदण्डका रूपमा व्याख्या गर्दै आवश्यक बजेट विनियोजन गरेर समयमै मर्मत सम्भार गर्नुपर्ने धारणा राखे ।

 

 

रास्वपाप्रति ओलीको कटाक्ष : मान्छेहरुले प्रधानमन्त्री बनाइसके, हामी चुनाव पर्खिरहेका छौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार अघि सारिएको भन्दै कटाक्ष गरेका छन् । आज (मंगलबार) मदन आश्रित स्मृति प्रतिष्ठानको आयोजनामा ११ औं महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै कटाक्ष गरेका हुन् ।

‘देशमा को लोकप्रिय छ भन्ने चर्चा यो निर्वाचनसम्मै रहन्छ,’ ओलीले भने, ‘प्रधानमन्त्री बनाइसके मान्छेहरूले, हामी चुनाव पर्खिरहेका छौं । कहिले होला ? फागुन २१ मा होला, वैशाखमा होला या अर्को मंसिरमा होला ।’ फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि रास्वपाले काठमाडौँका मेयर बालेनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले जंगलमा बाघको शिकार गर्न ‘कुखुरा, बाख्रा र स्याल’ ले मोर्चा बनाएको समेत टिप्पणी गरेका छन् । ‘कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको शिकार गर्न सक्दैन,’ अध्यक्ष ओलीले भने । ओलीले यसो भन्दा सभाहलमा ठूलो हाँसो गुञ्जिएको थियो । उनले एमालेलाई परास्त गर्न सबै जना मोर्चाबन्दीमा लागेको आरोप समेत लगाएका छन् । ‘एमाले मात्र होइन, कांग्रेस पनि छ,’ उनले भने, ‘कांग्रेस यस्तो पार्टी हो, जसले छेउमा नगएसम्म केही गर्दैन, छेउमा गएपछि गाह्रो पार्छ ।’ एमालेले महाधिवेशनबाट धेरै कुराहरूको जबाफ दिएको बताउँदै ओलीले निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिने बताएका छन् ।

 

 

निर्वाचनमा कांग्रेस–एमाले सहकार्यको संकेत, उठ्दै रणनीतिक तालमेलको बहस

काठमाडौं । संविधान र लोकतन्त्र जोगाउन प्रमुख राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बहस कांग्रेस र एमाले दुवैतर्फ उठ्न थालेको छ । मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको ‘एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठीमा नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले सहकार्य, रणनीति र सम्भावित निर्वाचन तालमेलबारे धारणा राखेका हुन् ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले संविधान निर्माणका पक्षधर शक्तिहरू अब मिलेर अघि बढ्नुपर्ने बताए । कांग्रेस विधि र व्यवस्थाका सवालमा एमालेसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै उनले निर्वाचनमा भने स्वस्थ प्रतिष्पर्धा हुने स्पष्ट पारे । विश्वकर्माले एमालेको हालै सम्पन्न ११औं महाधिवेशनले दुई महत्वपूर्ण सन्देश दिएको बताए । उनका अनुसार पहिलो, अस्थायी रूपमा त्रास सिर्जना गर्ने प्रवृत्तिविरुद्ध स्थापित राजनीतिक दलहरू एकजुट हुन थालेका छन् । दोस्रो, अस्थायी र अराजनीतिक समूहले स्थापित दलहरूलाई पराजित गर्न नसक्ने सन्देश महाधिवेशनबाट प्रवाह भएको छ ।

एमालेसँग विगतदेखि नै सहकार्यको इतिहास स्मरण गराउँदै उनले भने, ‘२०४६ सालको जनआन्दोलनदेखि २०६२–६३ को आन्दोलन र संविधान निर्माणसम्म हामी सँगसँगै उभिएका थियौं । अहिले फेरि संकट आएको छ, यो बेला पनि हामीले डटेर, भिडेर लड्नु पर्छ ।’ पार्टी सभापति शेरबहादुर देउवाको सन्देशका रूपमा विश्वकर्माले कांग्रेसको नीति स्पष्ट पार्दै भने, ‘कांग्रेसको कसैसँग स्थायी मित्रता वा दुश्मनी हुँदैन । हामी मुद्दामा सहकार्य गर्छौं, जनताको पक्षमा सहकार्य गर्छौं ।’ उनका अनुसार अहिले देशमा देखिएको संकट समाधान गर्न संविधान पक्षधर शक्तिहरू मिलेर ‘पहिले आगो निभाउने’ र त्यसपछि विधि र व्यवस्था जोगाउन संयुक्त रूपमा संघर्ष गर्नुपर्नेछ । व्यवस्था स्थापित भएपछि आपसी तिक्तता बिना निर्वाचनमा प्रतिष्पर्धा गर्न सकिने उनको भनाइ थियो ।

उही कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले अझ एक कदम अगाडि बढ्दै आगामी निर्वाचनमा कांग्रेस र एमाले मिलेर जानुपर्ने धारणा राखेका छन् । उनले लोकतन्त्र खतरामा पर्दा विगतमा वामपन्थीको नेतृत्व एमालेले र लोकतन्त्रवादीको नेतृत्व कांग्रेसले गर्दै आएको स्मरण गराउँदै वर्तमान परिस्थितिमा पनि दुवै शक्तिले संयुक्त रणनीति बनाउनु पर्ने बताएका छन् । थापाका अनुसार अगाडि दुईवटा बाटो छन्–नयाँ संसदमार्फत वामपन्थी र लोकतन्त्रवादी शक्तिको वर्चस्व स्थापित गर्ने वा दुई शक्तिको वर्चस्व रहेको पुरानै संसद पुनस्र्थापना गरेर लोकतन्त्रलाई मजबुत बनाउने । अदालत र सडक दुवै माध्यमबाट फागुन २१ गतेसम्म पुरानो संसद पुनस्र्थापनाको सम्भावना रहेको उनले बताएका छन् ।

यदि निर्वाचन हुने अवस्था आएमा ‘डिप स्टेट’ प्रवृत्तिविरुद्ध रणनीति बनाएर अघि बढ्नुपर्ने उनको जोड थियो । ‘१६५ निर्वाचन क्षेत्र लोकतन्त्र पुनर्स्थापनाका १६५ मोर्चा हुन्’, भन्दै उनले आधा क्षेत्रमा वामपन्थी र आधा क्षेत्रमा लोकतन्त्रवादी शक्तिले जित्ने, समानुपातिकतर्फ पनि त्यही सन्तुलन कायम गर्ने रणनीति प्रस्ताव गरे । गोष्ठीमा व्यक्त यी धारणाले वर्तमान राजनीतिक संकटको समाधानका लागि कांग्रेस–एमाले सहकार्य सम्भावनालाई थप बल दिएको देखिन्छ । अब यो सन्देश व्यवहारमा कसरी रूपान्तरित हुन्छ, त्यो भने आगामी राजनीतिक घटनाक्रमले तय गर्नेछ ।

 

 

निर्वाचन हुने अवस्था छ कि छैन भन्ने प्रश्न गम्भीर छ : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक वातावरण बनाउन गर्न नसकेको टिप्पणी गरेका छन् । मङ्गलवार मोरङ समाज काठमाडौँको २६ औँ वार्षिक साधारण सभालाई काठमाडौँमा सम्बोधन गर्दै उनले मुलुकमा निर्वाचन हुने अवस्था बने–नबनेको विषय गम्भीर प्रश्नको रूपमा उभिएको बताएका हुन् ।

सबै राजनीतिक दलहरूले समानुपातिकतर्फको सूची बुझाइसके पनि शान्ति–सुरक्षाको अवस्था कमजोर रहेकाले निष्पक्ष र भयरहित ढङ्गले निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन ? अहम प्रश्न रहेको उनले बताए । उनले नेपाली कांग्रेस निर्वाचनबाट नभाग्ने तर हार्न तयार हुने लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै उनले सरकारले त्यसको लागि वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । उनले निर्वाचनमा शान्ति–सुरक्षा कायम गर्ने मुख्य जिम्मेवारी प्रहरी प्रशासनको भएको उल्लेख गर्दै हाल प्रहरीको मनोबल अत्यन्त खस्किएको बताए । सेनाले निर्वाचन गराउँदैन भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको पनि उनको भनाइ छ । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनको स्मरण गराउँदै गम्भीर अपराधका कैदीहरू फरार र हजारौँ हातहतियार समेत समाजमा रहेको भन्दै यही अवस्थामा भयरहित वातावरणमा निर्वाचन हुनेमा शङ्का व्यक्त गरे ।

उनले भने ‘सबै राजनीतिक दलहरूले समानुपातिकको सूची पठायो पनि । तर वास्तवमा देशमा निर्वाचन हुने अवस्था छ कि छैन ? भन्ने प्रश्न चाहिँ अहम् प्रश्न छ । हामी भाग्दैनौँ निर्वाचनबाट । एउटा लोकतान्त्रिक पार्टी हार्छ, हार्नसक्छ तर हामी निर्वाचनबाट भाग्दैनौँ । तर निर्वाचनको लागि सरकारले केही काम त गर्नुपर्‍यो । शान्ति सुरक्षा त दिनसक्नु पर्‍यो । समाजमा शान्ति सुरक्षा छ कि छैन भन्ने कुरा प्रहरी प्रशासनमा निर्भर गर्छ । प्रहरी प्रशासनको आजको दिनमा अत्यन्त मनोबल गिरेको अवस्थामा छ ।’

उनले भने, ‘नेपाली सेनाले निर्वाचन गराउने हैन भन्ने कुरा हामीले बुझ्न जरुरी छ । नेपाली सेना त तेस्रो घेरामा मात्रै बस्छ । बुथमा बस्ने भनेको प्रहरी नै हो । प्रहरीलाई कति समस्या पर्छ भनेर हामीले २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा देखेका छौँ । भय र त्रासमा भोट हालेको हामी सम्झिन्छौँ त्यो बेलामा । अर्को कुरा ५ हजार कैदीहरू जसमा सार्फ सुटरहरु पनि छन्, ती भागेका छन् । राज्यले खोज्नुपर्‍यो । लुटिएका हतियारहरू पनि छिटोभन्दा छिटो फिर्ता ल्याउनु पर्छ भन्ने नेपाली कांग्रेसको मात्र होइन सबै दलहरूको माग हो ।’

नेता कोइरालाले २३ भदौमा भएको जेन–जी आन्दोलनमाथि प्रहरी दमनको जति निन्दा गरे पनि कम हुने बताए । यद्यपि २४ भदौमा भएको विध्वंसलाई सामान्य रूपमा हेर्न नहुने उनको भनाइ छ । उनले मुख्य प्रशासनिक भवन सिंहदरबारदेखि प्रादेशिक तहका संरचना र नेताका निवासहरू समेत तहसनहस पारिएको उल्लेख गर्दै उनले जेनजीले मात्रै ६ घण्टामा मुलुकलाई खरानी बनाउन नसक्ने टिप्पणी गरे । यो सब कांग्रेस–एमालेको सरकार हटाउनको लागि मात्र हो त ? उनको प्रश्न छ । उनले संसद पुनःस्थापना गरेर समेत अहिले समस्याहरूको निकास निस्कन नसक्ने जिकिर गरे ।

‘देश युवाहरूले चाहे जस्तो निर्माण गर्ने दिशामा अग्रसर भयो’ {तस्वीरहरु}

काठमाडौं । गुरुङ समुदायको ठूलो चाड तमु ल्होसारको अवसरमा मंगलबार टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की पनि पुगिन् । तेह्रथुमे ढाकाको साडीमा सजिएर टुँडिखेल पुगेकी प्रम कार्कीलाई आयोजकले उनकै स्केच फ्रेम गरेर उपहार दिएका थिए । गुरुङ पहिरन लगाएर नेपालको झण्डा बोकेको आफ्नो स्केच देखेर उनी मज्जाले हाँसेकी थिइन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले सांस्कृतिक विविधता नेपालको गौरव रहेको बताइन् । ‘यही विविधता नै हाम्रो ठूलो शक्ति पनि हो । तमु ल्होसार जस्ता पर्वहरूले हामीलाई आफ्नो मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ बलियो बनाउन प्रेरित गर्छन् । यस्ता पर्वहरूले समाजमा मेलमिलापको सन्देश फैलाउँछन् र प्रकृतिसँग सहअस्तित्वको पाठ सिकाउँछन्,’ उनले भनिन्, ‘आज हामी घोडा वर्गको नयाँ वर्ष मनाउँदै छौँ । घोडा शक्ति, साहस, गति र कर्मठपनाको प्रतीक हो । यही ऊर्जा र सकारात्मक भावनालाई आत्मसात् गर्दै हामी सबैले देशको समुन्नति र समृद्धिको यात्रामा तीव्र वेगमा अघि बढ्नु पर्नेछ ।’

जस्तोसुकै चुनौती र कठिन परिस्थितिमा पनि एकआपसमा हातेमालो गर्दै समाधान खोज्न सक्छौं भन्ने विश्वास नै नेपाली समाजको अर्को सुन्दर पक्ष रहेको प्रधानमन्त्री कार्कीले बताइन् । पछिल्ला दिनहरूमा देखिएका परिस्थितिबाट पाठ सिक्दै आज हामी शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहे जस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको उनले बताइन् ।
तस्वीरहरुः नेपाल फोटो लाइब्रेरी

पुराना पार्टी सिद्धिइसके भन्ने सोसल मिडियाको शहरिया होहल्ला मात्रै हो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुराना पार्टी सिद्धिए अब नयाँहरू उदाउँछन् भन्ने शहरिया होहल्लामा सत्यता नभएको बताएका छन् । उनले गाउँ–गाउँमा स्थापित दलहरूप्रति नै आमजनताको भरोसा रहेको दाबी गरे । रूकुमबाट काठमाडौंसम्म पैदल यात्रा गरेका नेकपा युवा नेता केशव रावलको यात्रा समापनका लागि पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले सामाजिक सञ्जालबाट उदाएकाहरूले देशको नेतृत्व गर्न नसक्ने बताएका हुन् ।

‘अहिले सोसल मिडिया र शहर बजारका मान्छेका होहल्ला हेर्‍यो भने विचारविहीन, निष्ठाविहीनले कब्जा गरे भन्ने जस्तो होहल्ला छ । पार्टी सिद्धिइसके भन्ने र्‍युमर छ’ प्रचण्डले भने, ‘जसले दशकौं लडाइँ लडेर आन्दोलन गरेर कीर्तिमान कायम गरेका, ती पार्टीको काम छैन भने जस्तो । त्यस्तै त्यस्तै सोसल मिडियाबाट होहल्ला गर्नेहरू तिनै नै मुक्तिदाता हुन् भने जस्तो शहर बजारमा या मोबाइल हेर्नेहरूको हातहातमा त्यस्तो हो कि भन्ने भ्रम पर्ने गर्छ । तर त्यसो होइन ।’

प्रचण्डले शहरमा भइरहेको भन्दा गाउँको माहौल पृथक रहेको दाबी गरेका छन् । ‘शहर बजारमा जे होहल्ला छ त्यस्तो होइन, गाउँमा पार्टीप्रति सकारात्मक भाव छ । सोसल मिडियामा जे जस्तो चर्चा छ, जनतामा त्यस्तो छैन । पार्टीप्रति जनतामा आशा–भरोसा कायमै छ भन्ने कुरा महसुस गथ्र्यो । तपाईंले पैदल यात्रामार्फत् त्यस्तै सन्देश ल्याउनुभयो धन्यवाद छ’ प्रचण्डले भने । नेकपा एकताको सन्देश दिन भन्दै युवा नेता रावलले रूकुमदेखि काठमाडौंसम्म १५ दिन यात्रा गरेका थिए ।