`

टायल्स उद्योगका दुई मजदुर मृत फेला, घटना शंकास्पद भन्दै आफन्तको प्रदर्शन

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटस्थित एक टायल्स उद्योगका दुई मजदुर मृत फेला परेका छन् । एक नेपाली र एक जना भारतीय मजदुर उद्योगमा मृत फेला परेका हुन् ।मृत फेला पर्नेमा नवलपरासी बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला–६६ ग्रामपोस्टका ३० वर्षीय विनोद कुमार रहेको प्रहरीले जानकारी दिएको छ ।

बुधबार राति ८ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म ग्यासी फायरमा ड्यूटीमा खटिएका उनीहरू मृत फेला परेको प्रहरीले जनाएको छ । ग्यासी फायरको पोकिङ फ्लोरमा गद्दा ओछ्याएर सुतेको अवस्थामा उनीहरू मृत फेला परेको जानकारी कम्पनीका म्यानेजर रमेश न्यौपानेले बिहान सवा ९ बजे प्रहरीलाई गराएका थिए ।

घटनाबारे जानकारी पाउनेबित्तैकै प्रहरी टोलीले घटनास्थल पुगेको पश्चिम नवलपरासीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुशील घिमिरेले जानकारी दिए । मृत फेला परेका दुवै जना मजदुरको शरीरमा कुनै पनि प्रकारको घाउ चोट नदेखिएको उनले बताए । मृतकका आफन्तले भने घटना शंकास्पद भएको भन्दै उद्योग घेराउ गर्दै प्रदर्शन गरिरहेका छन् । उनीहरूले दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने माग राखेका छन् । घटनास्थलमा अहिले ३१ जना प्रहरीको टोली खटेर घटनाबारे अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

 

 

सन् २०२५ सञ्चार जगतका लागि दुःखद, विश्वभर १२८ पत्रकारको हत्या

काठमाडौं । सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या भएको अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले बिहीबार जनाएको छ । तीमध्ये आधाभन्दा बढी मध्यपूर्वमा भएको हो । आइएफजेका महासचिव एन्थोनी बेलाङ्गरले भने, ‘सन् २०२४ भन्दा बढेको यो संख्या केवल तथ्याङ्क मात्र होइन, यो हाम्रा सहकर्मीहरूका लागि विश्वव्यापी रेड अलर्ट हो ।’ प्रेस समूहले विशेष चिन्ता व्यक्त गर्दै प्यालेस्टिनी क्षेत्रहरूमा गाजामा हमास र इजरायलबीचको द्वन्द्वका क्रममा ५६ जना मिडिया पेशेवर मारिएका तथ्य प्रकाशमा ल्यायो ।

बेलाङ्गरले भने ‘हामीले यस्तो कहिल्यै देखेका छैनौँः यति छोटो समयमा, यति सानो क्षेत्रमा यति धेरै मृत्यु ।’ यमन, युक्रेन, सुडान, पेरु, भारत र अन्य स्थानमा पनि पत्रकारहरूको हत्या भएको थियो । उनले आक्रमणको पछाडि रहेका व्यक्तिहरूलाई ‘दण्डहीनता’ को चेतावनी दिंदै निन्दा गरे । ‘न्यायबिना, यसले पत्रकारका हत्याराहरूलाई फस्टाउन दिन्छ’ उनले भने ।

विश्वभर हाल ५३३ पत्रकार जेलमा रहेको आइएफजेले बताएको छ । यो विगत आधा दशकमा दोब्बरभन्दा बढी भएको तथ्य हो । हङकङमा १४३ जना पत्रकारलाई जेलमा राखिएको छ, जहाँ अधिकारीहरूले असहमतिलाई खारेज गर्दै राष्ट्रिय सुरक्षा कानून लागू गरेका थिए । पश्चिमी राष्ट्रहरूले यसलाई आलोचना गर्दै हङकङलाई सबैभन्दा खराब जेलरको सूचीमा शीर्ष स्थान दिएको छ । आइएफजेको तथ्याङ्क रिपोर्टर्स विदाउट बोर्डर्सको तुलनामा बढी देखिन्छ । यस वर्षको आइएफजे टोलमा नौ दुर्घटनामा मृत्यु भएका पत्रकारहरू पनि समावेश छन् । रिपोर्टर्स विदाउट बोर्डर्सले ६७ जना पत्रकारको हत्या रिपोर्ट गरेको छ भने युनेस्कोले ९३ जना राखेको छ । एजेन्सी

 

 

रवि, बालेन र कुलमानलाई रोक्न पुराना दलहरु पनि चुनावी गठबन्धनको कसरतमा हुन् ?

काठमाडौं । वैकल्पिक राजनीतिमा देखिएको नयाँ ध्रुवीकरणले मुलुकको पुरानो सत्ता राजनीतिलाई पुनः तरङ्गित बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबीच एकतापछि उत्पन्न दबाबले नेपाली कांग्रेस र नेकपा एमाले जस्ता दुई ठूला दललाई फेरि नजिक ल्याएको विश्लेषण हुन थालेको छ ।

आगामी माघ ११ मा हुने राष्ट्रिय सभा र फागुन २१ मा तय प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संवाद बढेको स्रोतहरूको दाबी छ । २०८१ असार १७ मा भएको सात बुँदे सहमतिको आधारमा ओलीले चुनावी सहकार्यको प्रस्ताव अघि सारेका हुन् । यद्यपि, कांग्रेसभित्रको आन्तरिक मतभेद र संस्थागत निर्णयका कारण प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन हुने–नहुने विषय अझै अनिश्चित देखिन्छ । एमालेका लागि राष्ट्रिय सभा निर्वाचन रणनीतिक रूपमा संवेदनशील बनेको छ । हाल एमालेका १० सांसद रहेकामा आगामी निर्वाचनमा गठबन्धन नगरे दुई सिटमा खुम्चिने जोखिम रहेको बताइन्छ । फागुन २० देखि रिक्त हुने १९ मध्ये १८ सिटमा निर्वाचन हुँदैछ । यही गणितीय दबाबका कारण एमालेले कांग्रेससँग अनौपचारिक ‘बार्गेनिङ’ थालेको चर्चा छ ।

एमाले सचिव भानुभक्त ढकाल संविधान र व्यवस्थाको रक्षाका लागि ठूला दलबीच सहकार्य स्वाभाविक भएको तर्क गर्छन् । तर उनले प्रतिस्पर्धात्मक वातावरण बने एमाले एक्लै चुनाव लड्न तयार रहेको पनि बताएका छन् । कांग्रेसभित्र भने राष्ट्रिय सभामा तालमेल गर्न सकिने, तर प्रतिनिधिसभामा आवश्यकताको सिद्धान्त हेरेर निर्णय लिनुपर्ने मत बलियो देखिन्छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत र नेता एनपी साउद मध्यमार्गी धारमा देखिन्छन् । सभापति देउवा लचक देखिए पनि कांग्रेसका महामन्त्री गगन थापा, डा. शेखर कोइराला र विश्वप्रकाश शर्मा पक्ष निर्वाचनपूर्व गठबन्धनको खुलेर विरोधमा छन् । महासमिति र केन्द्रीय समितिले समेत ‘भविष्यका आवधिक निर्वाचनमा कांग्रेस एक्लै लड्ने’ निर्णय गरिसकेको उनीहरूको तर्क छ ।

शेखर कोइरालाले कार्यकर्ताको मनोभावना विपरीत गठबन्धन स्वीकार्य नहुने चेतावनी दिएका छन् । ‘कांग्रेस कार्यकर्ता आफ्नै चुनाव चिह्नमा भोट हाल्न नपाएर दिक्क छन्,’ उनको भनाइ छ । राजनीतिक विश्लेषकहरूका अनुसार रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङ एकै ठाउँमा आउनुले कांग्रेस र एमालेलाई मनोवैज्ञानिक दबाबमा पारेको छ । प्राध्यापक कृष्ण पोखरेल भन्छन्, ‘पुराना दलहरूबीचको अप्राकृतिक गठबन्धनले उनीहरूको आत्मविश्वासको अभाव देखाउँछ । यस्ता गठबन्धनले मतदातामा नकारात्मक सन्देश जान सक्छ ।’ अघिल्लो चुनावमा रास्वपाले एक्लै २२ सिट जितेको तथ्य स्मरण गर्दै वैकल्पिक पक्षधरहरू नयाँ एकताले ठूला दललाई ठूलो धक्का दिन सक्ने अपेक्षा गर्छन् ।

एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले कांग्रेस–एमाले मिलेर चुनाव लड्नु पर्ने अभिव्यक्ति दिएपछि पार्टीभित्रै आलोचना सुरु भएको छ । नेता गोकुल बास्कोटाले समानुपातिक प्रणाली र नेतृत्व चयनबारे प्रश्न उठाउँदै बादललाई प्रत्यक्ष चुनाव लड्न चुनौती दिएका छन् । यद्यपि, एमाले अध्यक्ष ओली पछिल्ला दिनमा कांग्रेस र विशेषतः देउवाप्रति सकारात्मक सुनिन थालेका छन् । उनले संविधान र व्यवस्थाको रक्षाका लागि कांग्रेस–एमाले मिल्नु पर्ने तर्क गर्दै आएका छन् । यसबीच, कांग्रेस र एमाले दुवैले नेकपा माओवादीसँग पनि समानान्तर संवाद जारी राखेका छन् । माओवादी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षाका लागि सहकार्य खुला रहेको संकेत दिएका छन् । तर पार्टी नेता वर्षमान पुनले ‘जेनजी’ आन्दोलनपछि माओवादी बलियो बन्दै गएको भन्दै तत्काल गठबन्धनको आवश्यकता नरहेको बताएका छन् ।

 

 

नलडेको चुनाव, जितेको सांसद : रास्वपाको प्रदेशमा ‘सरप्राइज’

काठमाडौं । प्रदेशमा निर्वाचन नै नलडेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एक जना प्रदेश सांसद भएको छ ।

ती सांसद हुन्– डा. ताराप्रसाद जोशी । प्रत्यक्ष र समानुपातिक कतै निर्वाचन नलडे पनि रास्वपाको प्रदेश सांसद हुनु त्यसै रोचक हो ।

डा. जोशी डडेल्धुराको प्रदेश (ख)बाट २०७९ मा भएको प्रदेश संसद् निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भए ।

उनी सुदूरपश्‍चिम प्रदेश संसद् सदस्य हुन् । उनै जोशी हालै रास्वपा सांसद भएका छन् । उनीसँग नेपालवान एचडीले गरेको संक्षिप्त संवादको सम्पादित अंश :

000
स्वतन्त्र सांसद तपाईं राष्ट्रिय स्वतन्त्र पार्टीमा जानुभएको हो ?

हामीले उज्यालो नेपाल पार्टी बनाएका थियौँ । त्यो पार्टीको एकता हालै राष्ट्रिय स्वतन्त्र पार्टीसँग भयो । त्यसो हुँदा अब म स्वतः रास्वपाको सांसद भएँ ।

रास्वपाले त प्रदेश मान्दैन । प्रदेशमा चुनावै लडेन । त्यो दलको अब तपाईं प्रदेश सांसद ?

हो । तर, यहाँ स्पष्ट पार्नुपर्ने के छ भने रास्वपाले प्रदेश मान्दैन होइन मान्छ । मैले यसबारे पार्टी नेतृत्वसँग स्पष्टता पनि लिएँ ।

मलाई भन्‍नुभयाे कि ‘प्रदेश निर्वाचनमा तयारी गर्ने समय नै भएन, पार्टी स्थापना भएको केही महिनामै निर्वाचनमा जानुपर्ने भयो र उम्मेदवार खोज्‍नुपर्ने भयो, हामीलाई त्यसबेला समय पुगेन, त्यसो हुँदा प्रदेशमा उम्मेदवारी नदिने र निर्वाचन नलड्ने हाम्रो तत्कालीन निर्णय हो, हामी प्रदेशको वा संघीयताको विरोधी होइनौँ’ भनेर प्रष्ट पार्नुभयो ।

दोस्रो, रास्वपा प्रदेश मान्छ भन्ने पुष्टि यहाँबाट पनि हुन्छ कि रास्वपाले प्रदेशमा मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने मान्यता राखेको छ ।

रास्वपाको दस्तावेजमा त्यो छ । त्यसो हुनाले रास्वपाले प्रदेश नमान्‍ने वा संघीयता नमान्‍ने भन्‍ने होइन ।

मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्छ भनेको छ, त्यो त प्रदेश नमान्‍ने भन्‍ने अर्थ लाग्दैन ।

रास्वपा भन्छ– प्रदेश संरचनामा सुधार हुनुपर्छ । नसुधारिकनै तपाईं त  रास्वपाकाे प्रदेश सांसद हुनुभयो । तपाईंलाई पार्टीले केही भनेको छैन ?

मैले यस विषयमा पार्टी नेतृत्व (रवि लामिछाने)सँग कुरा गरेको छु । उहाँले प्रदेशको संरचनामा सुधार चाहनु नराम्रो त होइन ।

शासकीय प्रणालीमा सुधार त आम मान्छेले चाहेका छन् । मैले पनि चाहेको छु ।प्रदेशको मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित भएन भने केन्द्र सरकारमा समीकरण बदल्ने बित्तिकै नकारात्मक प्रभाव प्रदेशमा परिरहन्छ ।

त्यसलाई रोक्न प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री चाहिन्छ भनेको त प्रदेशको आवश्यकता छ भनेको हो नि ।

तर, प्रत्यक्ष र समानुपातिक दुवैतर्फ निर्वाचन नलडेको दलको सांसद हुनु त पक्कै असुहाउँदिलो हो नि ?

त्यस्तो हुँदैन । मैले अघि भनिसकेँ । रास्वपाले समय अभावले प्रदेशमा निर्वाचन नलडेको हो । त्यो स्वाभाविक पनि छ ।

पार्टी स्थापना भएको केही महिनामै निर्वाचनको तयारी गर्न सकिँदैन । त्यो पार्टी नेतृत्वले खुला रूपमा भनिरहनुभएको छ । मैले यसमा स्पष्टीकरण दिनु के आवश्यक छ र ?

उसो भए रास्वपाको सुदूरपश्चिम प्रदेश सांसदको रूपमा तपाईंले संसद्‍मा खेल्ने भूमिका के हुन्छ त ?

मैले हिजो पनि स्वतन्त्र सांसद भएर प्रतिपक्षमा बसेर जिम्मेवार भूमिका निर्वाह गरेँ ।

अब रास्वपामा लागेपछि मलाई ‘पोलिटिकल ब्याकिङ’ हुन्छ र म अझ सशक्त भूमिका निर्वाह गर्छुु ।

लौकहीमा सशस्त्रको गोलीले स्थानीय मारिएपछि उग्र प्रदर्शन, प्रहरीले हान्यो अश्रुग्यास

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकही बजार क्षेत्रमा सशस्त्र प्रहरी बलको गोली लागेर स्थानीय अटो-सिटी सफारी चालकको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । घटनापछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् भने सशस्त्र प्रहरीको अस्थायी बिट (बीओपी) परिसरमा ढुंगामुढा, तोडफोड र आगजनीसमेत भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

बिहीबार राति करिब १ बजे तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले चलाएको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको हो । उनी भारतबाट चिनी, सर्फ, सुर्ती लगायत सामग्री लिएर आफ्नै सिटी सफारीमा नेपालतर्फ आउँदै गरेको अवस्थामा गोली लागेको जनाइएको छ। प्रारम्भिक विवरणअनुसार घर नजिकै चेकजाँचको क्रममा विवाद बढेपछि गोली चलाइएको थियो र साहलाई दुई राउण्ड गोली लागेको बताइन्छ । सशस्त्र प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी कुमार न्यौपानेले तस्करको समूहसँग दोहोरो गोली हानाहान भएको दाबी गरेका छन् ।

उनका अनुसार चोरीको सामान बोकेको सवारी रोक्न खोज्दा सवारीमा सवार व्यक्तिबाट पहिले गोली चलेको र त्यसपछि सशस्त्र प्रहरीले जवाफी फायरिङ गरेको हो । स्रोतले जनाएअनुसार बीओपी लौकहीबाट सशस्त्र प्रहरी हबलदारको कमाण्डमा खटिएको चार जनाको चेकप्वाइन्ट टोलीले दुई वटा सिटी सफारी जाँच गर्न खोज्दा सिटी सफारीबाट दुई राउण्ड फायर भएको र त्यसपछि सशस्त्र प्रहरीले एसएलआरबाट पाँच राउण्ड फायर गरेको थियो ।

घटनापछि स्थानीयले शव उठाउन नदिँदै विरोध जारी राखेका छन् । बिहीबार बिहान करिब १६० जनाको भीड घटनास्थलबाट बीओपीको मुख्य गेटसम्म पुगेर ढुंगामुढा गरेको थियो । त्यसक्रममा बीओपीमा रहेको रिजर्भ टोलीले दुई सेल अश्रुग्यास प्रहार गरी भीड तितरबितर पारेको हो । कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले स्थिति नियन्त्रणमा लिन सीमित मात्रामा अश्रुग्यास प्रयोग गरिएको र अवस्था क्रमशः सामान्य बन्दै गएको बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाबीच वार्ताको तयारी भइरहेको छ । स्थानीयले भने लेनदेनको विवादका कारण गोली चलाइएको दाबी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । अहिले लौकही क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । प्रशासनले शान्ति कायम गर्न सहयोग गर्न सबै पक्षलाई आग्रह गर्दै घटनाको छानबिन अघि बढाउने जनाएको छ ।

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन {तस्वीरहरु}

काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोलाको किनारमा थप २० मिटर खाली छाड्नु पर्ने सर्वोच्च अदालतको आदेश र त्यसको कार्यान्वयनका लागि काठमाडौं महानगरपालिकाले जारी गरेको सूचनाविरुद्ध प्रभावित स्थानीय बासिन्दाले आन्दोलन चर्काएका छन् । बिहीबार माइतीघर मण्डलासहित विभिन्न स्थानमा खोला किनारका बासिन्दा सडकमा उत्रिँदै मापदण्ड खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

‘गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति’ को आयोजनामा भएको प्रदर्शनमा बागमती, विष्णुमती, मनोहरा लगायत उपत्यकाका विभिन्न नदी–खोलाको किनारमा बसोबास गर्दै आएका पीडित सहभागी थिए । उनीहरूले ‘फैसला होइन, न्याय देऊ’, ‘मापदण्डका नाममा जनता विस्थापित गर्न पाइँदैन’, ‘जनतालाई उठिबास गराउने गैरन्यायिक खोला मापदण्ड खारेज गर’ जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

प्रदर्शनकारीहरूको भनाइमा खोला किनारको नाममा लागू गरिएको थप २० मिटर मापदण्डले हजारौँ सर्वसाधारणको घरबार जोखिममा पारेको छ । वर्षौदेखि भोगचलन गर्दै आएको जग्गा तथा घरमा बस्न नपाउने अवस्था सिर्जना भएको भन्दै उनीहरूले यसलाई गैरन्यायिक र एकपक्षीय निर्णयको संज्ञा दिएका छन् । उनीहरूका अनुसार उचित विकल्प, मुआब्जा वा पुनःस्थापनाको व्यवस्था नगरी मापदण्ड कार्यान्वयन गरिनु जनताको मौलिक हकविरुद्ध छ । उल्लेखनीय छ, करिब दुई वर्षअघि नदी क्षेत्र संरक्षणका नाममा सर्वोच्च अदालतले बागमती, विष्णुमती, मनोहरा लगायत काठमाडौं उपत्यकाका ठूला नदी तथा खोलाको किनारबाट थप २० मिटर क्षेत्र खाली राखेर मात्र संरचना निर्माण गर्न आदेश दिएको थियो ।

त्यसअघि नै मन्त्रिपरिषद्ले पनि २० मिटर जग्गा छाड्नु पर्ने निर्णय गरिसकेको थियो । सर्वोच्चको आदेश कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिकाले सम्बन्धित क्षेत्रका लागि सूचना जारी गरेपछि खोला किनारमा बसोबास गर्ने सर्वसाधारण थप आक्रोशित बनेका हुन् । पीडित संघर्ष समितिले खोला संरक्षणको नाममा जनतालाई विस्थापित गर्ने नीति स्वीकार्य नहुने भन्दै उक्त मापदण्ड तत्काल खारेज गर्न माग गरेको छ । माग सुनुवाइ नभए आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजाने चेतावनी पनि उनीहरूले दिएका छन् ।
तस्वीरहरु

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच आज सिंहदरबारमा वार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसहित सरकार र र दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानबीच आज (बिहीबार) वार्ता हुने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो १ बजे वार्ता हुने स्रोतले जनाएको छ । वार्तामा सरकार पक्षबाट प्रधानमन्त्री कार्की स्वयं उपस्थित हुने कार्यक्रम छ । यसअघि पुस १ गते प्रसाईं समूहले सरकारद्वारा गठित वार्ता समितिसँग वार्ता गरेको थियो ।

त्यसपछि आज प्रसाईंले प्रधानमन्त्रीसँगै वार्ता गर्न लागेको हो । त्यसो त पुस १५ गते प्रसाईंले प्रधानमन्त्री कार्कीसँग भेट गरिसकेका छन् । त्यस बेला प्रधानमन्त्री कार्कीले प्रसाईंलाई मुलुकमा शान्ति र अमनचैन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन रहेकाले यसमा सहयोग गर्न आग्रह गरेकी थिइन् । सरकारले राजनीतिक वातावरण बनाएर सहज रूपमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला पक्षसँग वार्ता र संवाद गरिरहेको हो । यसअघि प्रसाईंले १२ मंसिरमा सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका थिए । सो भेटमा प्रसाईंले अहिलेको व्यवस्था खारेज हुनुपर्ने लगायतका २७ बुँदे माग बुझाएका थिए ।

रास्वपा सहमहामन्त्रीमा भुपदेप शाहको चर्चा, अछाम- २ बाट चुनावमा उम्मेदवारी दिने तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका प्रमुख सल्लाहकार भुपदेव शाह रास्वपाको सहमहामन्त्री बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र मेयर बालेनको त्रिपक्षीय एकता गराउनमा भूमिका खेलेका शाहलाई महामन्त्री बनाउन बालेनले लविङ गरिरहेका छन् । 

साथै, शाहलाई अछाम निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको उम्मेदवार बनाउने रास्वपाको तयारी छ । यसैको लागि शाहले अहिले राजनैतिक भेटघाटलाई पनि तिव्र बनाएका छन् । 

शाह त्रिपक्षीय एकता गराउन भूमिका खेलेको वार्ता समितिका सदस्य थिए । अहिले रास्वपाको सहमहामन्त्री पद रिक्त छ ।    

वसन्तपुरमा यसरी मनाइयो राष्ट्रिय पोसाक र टोपी दिवस (तस्वीरहरु)

काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन राष्ट्रिय पोसाक र टोपी दिवस देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ । यस वर्ष ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ १३औँ राष्ट्रिय पोसाक र टोपी दिवस विभिन्न युवा संस्थाहरूको आयोजनामा काठमाडौंको वसन्तपुरमा मनाइयो ।

कार्यक्रममा सहभागीहरूले नेपाली दौरा–सुरुवाल, ढाका टोपी र गुन्यु–चोली लगाएर नाचगान गर्दै एक–अर्काबीच शुभकामना आदान–प्रदान गरेका छन् । नेपाली पहिचानका प्रतीक दौरा–सुरुवाल, ढाका टोपी र गुन्यु–चोलीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले वि.सं. २०७० देखि सुरु गरिएको यो अभियान हरेक वर्ष जनवरी १ तारिखमा मनाइँदै आएको छ । पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालमार्फत यसको व्यापक प्रचार–प्रसार भइरहेको छ ।
तस्वीरहरू : बिजेन आमात्य / नेपाल फोटो लाइब्रेरी

डाइभर्सनको भरमा चल्दै बीपी राजमार्ग {तस्वीरहरु}

काठमाडौं । गत वर्षको असोज दोस्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) को कटुञ्जेबेशी, मंगलटार, नेपालथोक सडकखण्ड डाइभर्सन बनाएर सञ्चालनमा छ । बाढीले सडक नै बगाएपछि यो वर्षदेखि खोलामै अस्थायी सडक बनाएर सवारी आवत जावत भइरहेको छ । खोलाबाट नै बनाइएको सडकबाट यात्रा गर्दा जोखिम त छ नै यात्रुलाई क्षतिग्रस्त खण्ड पार गर्न लाग्ने समय पनि बढेको छ ।

अझ धुलाम्य सडक खण्डमा उड्ने धुलो नियन्त्रण गर्न पानी हाल्दा सडकमा सवारी चिप्लिने र दुर्घटना हुने सम्भावना पनि बढी छ । यो राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि भने करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले बीपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न खण्डमा पुनर्निर्माण गर्न सो रकम खर्च हुने अनुमान गरेको भए पनि पुनर्निर्माणका लागि अझै स्रोत सुनिश्चित भएको छैन ।

सो राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडक खण्डमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १ सय ६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्ड–खण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ : झलनाथ खनाल

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नेपाललाई योजनाबद्धरुपमा युक्रेन जस्तै बनाउने षड्यन्त्र भइरहेको भन्दै सबै वामपन्थी र कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् । अंग्रेजी नयाँ वर्षको शुभकामना सन्देश दिँदै खनालले जेन्जी आन्दोलनका नाममा देशलाई महाविपत्तिको अवस्थामा लगिएको र यसमा पश्चिमा शक्ति अनि नेपालभित्रका उनीहरुका मान्छे संलग्न रहेको आरोप समेत लगाएका छन् ।

खनालले भनेका छन्, ‘अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरु र देशभित्रका उनीहरुका दलालहरु नेपाललाई युक्रेन बनाउन योजनाबद्ध ढंगले लागेका छन् । उनीहरु नेपाली जनतालाई सबै नेताका विरुद्ध, नेपाली समाजलाई परिवर्तन गर्दै आइरहेका पार्टीहरुको विरुद्ध, देशका विरुद्ध र समाजवादका विरुद्ध विदेशी पैसा र प्रलोभनका आधारमा दुष्प्रचार गरिरहेका छन् र मुलुकलाई हिंसा र बिध्वंशतिर लान खोज्दै छन् ।’

सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा बुधबार राति सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक स्थानीय सफारी चालकको मृत्यु भएको छ । तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको ज्यान गएको हो । भारतबाट आफ्नो सिटी सफारीमा ८–१० बोरा चिनी लोड गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा राति करिब १ः१० बजे साहमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटनापछि आक्रोशित स्थानीय बासिन्दाले सशस्त्र प्रहरीविरुद्ध प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूले दोषीलाई कारबाही माग गर्दै मृतकको शव उठाउन दिएका छैनन्, जसका कारण घटनास्थलमा तनावपूर्ण स्थिति सिर्जना भएको छ । अहिले सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ र घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काले जनाएका छन् ।

यस विषयमा सशस्त्र प्रहरी बल, इटहरीका डीआइजी कुमार न्यौपानेले राति सामान लिएर आउँदै गरेका दुईवटा अटो र एउटा ई–रिक्सालाई ड्युटीमा खटिएका प्रहरीले रोक्न खोज्दा झडप भएको दाबी गरेका छन् । तस्कर समूह रोकिनुको सट्टा सशस्त्र प्रहरीलाई नै ठक्कर दिएर भाग्न खोजेपछि आत्मरक्षाका लागि जवाफी कारबाही गर्दा साहलाई गोली लागेको उनको भनाइ छ । झडपमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका जवानहरू नवीन खड्का र युगराज खतिवडा समेत घाइते भएको जानकारी प्राप्त भएको उनले बताए ।

यथास्थितिमा सीमित सोंच र परिवर्तनको चाहनाबीचको संघर्ष जारी छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिम्मेवार ढङ्गले परिवर्तनको पक्षमा अघि बढ्नुपर्ने बताएका छन् । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘देश र जनताप्रतिको जिम्मेवारीप्रति सचेत रहँदै नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सबल र दुर्बल पक्षहरूको समीक्षासहित सच्चिएर अघि बढ्ने प्रतिबद्धतालाई व्यवहारमा उतार्दै अघि बढिरहेको छ । यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबीचको संघर्ष अझै जारी छ । अहिले हामी जिम्मेवार ढङ्गले परिवर्तनको पक्षमा अघि बढ्नुपर्ने आवश्यकता छ ।’

नयाँ वर्ष २०२६ ले नयाँ आशा, ऊर्जा र संकल्प लिएर आउने विश्वासका साथ यो वर्ष सबै नेपालीका लागि राजनीतिक स्थिरता, सुख, शान्ति, समृद्धि र सफलताको वर्ष बनोस् भन्ने कामना पनि उनले गरेका छन् ।

उनले भने, ‘हामीबाट बिदा भएको वर्ष सन् २०२५ मा जेन–जी युवापुस्ताको आन्दोलनले राजनीतिक परिवर्तनको नयाँ अध्यायको संकेत गरेको छ । यसले पुराना संरचना, कार्यशैली र परिपाटीमा गम्भीर सुधारको आवश्यकता स्पष्ट पारेको छ । साथै, संविधान निर्माणका बेला तत्कालीन शक्ति–सन्तुलनका कारण फरक मतका रूपमा अघि सारिएका हाम्रा एजेन्डाहरूको औचित्य पनि यसले पुष्टि गरेको छ।यो तरल राजनीतिक परिस्थितिमा अग्रगामी शक्तिहरूबीच आपसी समझदारी र राष्ट्रिय एकता आजको महत्वपूर्ण आवश्यकता बनेको छ । वर्तमान संकटको सकारात्मक निकासका लागि राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो ।’

‘देश र जनताप्रतिको जिम्मेवारीप्रति सचेत रहँदै नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सबल र दुर्बल पक्षहरूको समीक्षासहित सच्चिएर अघि बढ्ने प्रतिबद्धतालाई व्यवहारमा उतार्दै अघि बढिरहेको छ । यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबीचको संघर्ष अझै जारी छ । अहिले हामी जिम्मेवार ढङ्गले परिवर्तनको पक्षमा अघि बढ्नुपर्ने आवश्यकता छ,’ प्रचण्डले थप भनेका छन् ।

यी हुन् एमालेका ११० समानुपातिक उम्मेदवार (नामावलीसहित)

काठमाडौं । नेकपा एमालेका समानुपातिकतर्फका सम्पूर्ण उम्मेदवारहरूको सूची सार्वजनिक भएको छ । एमालेले सोमबार राति नै आयोगमा सूची बुझाएको भए पनि बुधबार साँझ मात्रै यो सूची सार्वजनिक गरेको हो ।

एमालेले बुझाएको समानुपातिक सूचीमा समुचित प्रतिनिधित्व नभएको, यसअघि समानुपातिक सांसद भइसकेकाहरूलाई पनि उम्मेदवारका रूपमा समावेश गरिएको भन्दै पार्टीभित्रै विरोध भइरहेको छ । त्यसो त उपाध्यक्ष गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराईले प्रस्ताव गरेका केही नाम बेवास्ता गरेर एकतर्फी रोस्टर बनाइएको भन्दै असन्तुष्टि पनि बढेको छ ।

हेर्नुस् सूची

खस आर्य महिला :

पद्मा अर्याल, टुकाभद्रा हमाल, निरुदेवी पाल, कोमल वली, नर्वदादेवी सिवाकोटी, एञ्जिला थापा, मेनुका काफ्ले, लता प्रसाईं, एशुदाकुमारी बराल, लीलाकुमारी भण्डारी, सानुमैया खड्का, नारायणकुमारी खनाल, प्रभा बराल (पौडेल), क्रान्ति बुर्लाकोटी, कल्पना शर्मा जोशी, विजया धिताल, भागिरथी कुमारी चन्द ।

खस आर्य पुरुष

गुरुप्रसाद बराल, पुष्पराज कँडेल, गोरखबहादुर बोगटी, नरेशप्रसाद पोखरेल, प्रेम पराजुली, पर्शुराम अधिकारी, लालबहादुर महतारा, रामबहादुर थापा (स्याङ्जा), हरिशंकर योगी, बालाराम शर्मा, दुर्गाबहादुर शाही, दीपकबहादुर पौडेल, ठानेश्वरप्रसाद बस्याल, लालबहादुर रावल, डफकुमार बास्तोला, बमबहादुर बिसी ।

आदिवासी जनजाति महिला :

भूमिका लिम्बू सुब्बा, गंगादेवी श्रेष्ठ, अनिता कन्दङ्वा, उषाकला राई, तारादेवी गुरुङ, लक्की शेर्पा, मौसम राई, नरदेवी पुन, भक्तकुमारी लामा, मीना बराम, यमुना घले, मनकुमारी तितुङ, कान्ता राई, शर्मिला गुरुङ, सुमित्रा राजवंशी, हरुसरा राना।

आदिवासी जनजाति पुरुष

रामबहादुर थापा मगर, कुलभक्त शाक्य, युद्धभक्त चित्रकार, इन्द्रबहादुर तामाङ, सोनाम छिरिङ लामा, विद्यानन्दसिंह राजवंशी, सन्तबहादुर प्रजा, बागलाल बुढा मगर, ओमबहादुर घर्ती मगर, जेहेन्द्र सिंह ऐतवाल ९सौका०, प्रेम घले, दलबहादुर गुरुङ, विजयसिंह लामा तामाङ, नवीन रोक्का मगर, विषमलाल अधिकारी दनुवार र राजकुमार श्रेष्ठ ।

मधेसी महिला

रिगला यादव, यशोधाकुमारी यादव, वीणाकुमारी साह, शर्मिलाकुमारी यादव, मन्जु महतो, अंशु सिंह, बविता दास, आशा यादव ।

मधेसी पुरुष

चन्देश्वर मण्डल, अरविन्द साह, रामचरित्र साह, राजेश अग्रवाल, सुशीलकुमार श्रीवास्तव, चन्देश्वर यादव, अनिलकुमार सिंह, विचारीप्रसाद यादव र सचिदानन्द साह ।

दलित महिला

विष्णुमाया विक, नीता घतानी, राधिका भुजेल साकी, अञ्जु नेपाली, मायादेवी पोडेनी, उर्मिलादेवी पासमान, मैना अछामी र सावित्रा घिमिरे ।

दलित पुरुष

जितबहादुर दर्जी गौतम, यमबहादुर परियार, मनोहर विश्वकर्मा नेपाली, निर्मल देउला पोडे, सोम पोर्तेल, बोमबहादुर विश्वकर्मा र जगबहादुर नेपाली ।

थारु महिला

मञ्जुकुमारी चौधरी, शान्ता चौधरी, इच्छाकुमारी चौधरी र असरादेवी चौधरी ।

थारु पुरुष

कृपाराम राना, शिवप्रसाद चौधरी र जजीर प्रसाद चौधरी ।

मुस्लिम महिला

साजिदा खातुन सिद्धिकी, रुही नाज र रोजीरन खातुन ।

मुस्लिम पुरुष

मोहम्मद हारुन हलवाई र एकवाल मिया ।

बालेनका पिए रास्वपाको सहमहामन्त्री बन्दै, अछाम–२ बाट उम्मेदवार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) का प्रमुख स्वकीय सचिव भूपदेव शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री बन्ने तयारीमा रहेका छन् । बालेन निकट स्रोतका अनुसार रास्वपाको आगामी संगठनात्मक संरचनामा शाहलाई सहमहामन्त्रीको जिम्मेवारी दिने विषयमा आन्तरिक सहमति जुट्दै गएको छ ।

रास्वपामा समाहित हुने प्रक्रियाका क्रममा शाह बालेनका तर्फबाट वार्ता समितिमा समेत सक्रिय रहेका थिए । सोही पृष्ठभूमिमा बालेनको सिफारिसमै शाहलाई सहमहामन्त्री बनाउने तयारी भएको स्रोतको दाबी छ । पार्टीभित्र संगठन विस्तार र रणनीतिक भूमिकामा शाहलाई अघि सार्ने योजना रहेको बताइएको छ ।

यससँगै भूपदेव शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्ने तयारीमा पनि छन् । उनले रास्वपाको ‘घण्टी’ चुनाव चिह्न लिएर उम्मेदवारी दिने तयारी गरिरहेको र त्यसका लागि स्थानीय तहमा संगठन विस्तार तथा चुनावी रणनीति निर्माणका काम तीव्र बनाइएको जनाइएको छ । अछाम शाहको जन्मस्थान समेत हो ।

२०७९ को स्थानीय तह निर्वाचनमा बालेन साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि भूपदेव शाहलाई प्रमुख स्वकीय सचिवको जिम्मेवारी दिइएको थियो । त्यसयता शाह बालेनका सबैभन्दा विश्वासिला सहयोगीका रूपमा परिचित छन् । बालेनका विभिन्न नीतिगत तथा प्रशासनिक निर्णयमा शाहको प्रभावकारी भूमिका रहने गरेको निकटस्थहरू बताउँछन् ।

केही दिनअघि मात्र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीच दुई पक्षीय राजनीतिक सहमति भएको थियो । सो सहमतिपछि बालेन–रास्वपा सम्बन्ध थप नजिकिएको विश्लेषण भइरहेका बेला भूपदेव शाहको सहमहामन्त्री बन्ने तयारी र प्रतिनिधिसभा उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

समानुपातिकको विडम्बना : लक्षित समुदाय छुट्याे, सम्बन्ध हावी हुँदै गयो

समानुपातिकको सैद्धान्तिक अवधारणा भनेको जनसंख्या, भूगोल र संस्कृतिको आधारमा जो जहाँ छन्, जो–जसले राज्यको निर्णय प्रक्रियामा हिस्सा लिन पाएका छैनन्, तिनलाई ल्याएर राज्यको शासन–प्रशासनको मूलधारमा ल्याउन अपनाइएको सैद्धान्तिक बाटो हो ।

०६२/६३ को जनआन्दोलनपछि समानुपातिक प्रणालीकै कारण हामीले कहिल्यै नसुनेका समुदायका मानिसहरू पनि संसद्‍मा देख्यौँ । त्यस हिसाबले यो राजनीतिक शक्तिको आधारमा नभई देशको भूगोलभित्र बसेको सबै मान्छेलाई शासन–प्रशासनको निर्णय प्रक्रियामा पुर्‍याउनुपर्छ भन्ने अवधारणको आधारमा नेपालमा अंगिकार गरेका हौँ ।

तर, ०६२/६३ पछि जसरी हामीले निरन्तर समानुपातिक प्रतिनिधित्वको अभ्यास गर्‍यौँ, त्यो राजनीतिक सहमतिजस्तो रूपमा सुरु भएको थियो । २०६४ पछि हामीले जति निर्वाचनहरू भोग्यौँ, ती भोग्दै आउँदा समानुपातिकबाट सांसद छनोट पहिले दलको तजविजमा र पछि नेताको तजविजमा पुग्यो । यसरी साघुरिँदै गयो । आजसम्म आइपुग्दा समानुपातिक प्रतिनिधित्वमाथि जुन प्रश्‍न उठिरहेको छ, जसरी बहस भइरहेको छ, त्यसको मूल जड के हुनुपर्ने हो ? त्यो कसको लागि हो भन्‍ने कुरा बिर्सिँदै आउँदाखेरिको परिणाम अहिले देखिएको हो ।

हालै राजनीतिक दलहरूले जसरी समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाए, त्यसले सिर्जना गरेको बहस के हो भने हामी संस्थागत अभ्यासबाट च्युत हुँदै व्यक्तिको तजविजमा जाँदा यस्तो अवस्था आएको हो ।

लोकतान्त्रिक देशमा समानुपातिक प्रतिनिधित्व अभ्यास संसद्का लागि प्रतिस्पर्धा गर्ने राजनीतिक दलहरूले गर्ने हो । त्यही राजनीतिक दलहरूले विभिन्‍न समुदाय, लिङ्‍ग, वर्ग, क्षेत्र, सांस्कृतिक पृष्ठभूमि वा पेशागत पृष्ठभूमिका मानिसलाई लिएर आउनुपर्ने हो ।

तर, ती दलहरूले नै संस्थागत अभ्यासलाई च्यापिदिए । अभ्यास नै गरेनन् । गर्नै छोडेपछि दलको बलियो नेतालाई चाहिने मान्छे, बलियो नेतालाई खुसी पार्न सक्ने मान्छे, ऊसँग नजिकको सम्बन्ध भएको मान्छे आउनु स्वाभाविक नै हो । यसरी हामीले संस्थागत पद्धतिको त्याग गर्‍यौँ ।

त्यसलाई बचाइराख्‍न पहिला जुन सैद्धान्तिक धारामा बसेर हामीले अभ्यास गर्न खोज्दै थियौँ, त्यसको संस्थागतकरण नै हो । संस्थागत भइसकेपछि त्यसले बाटो लिन्छ । तर, बीचमै हामीले त्यसलाई संस्थागत हुनै दिएनौँ ।

एउटा शक्ति समूहको तजविजमा पुर्‍याइँदा संस्थागत हुन नपाउँदै समानुपातिकको सामाजिक मर्म, भूगोलको मर्म, वा यसको सैद्धान्तिक जगबाट बाङ्‍गिदै आयो । अन्ततः समानुपातिक भन्‍ने कुरा शब्दमा मात्रै खुम्चियो, अभ्यासबाट टाढा गयो ।

यसले गर्दा अहिले जुन समुदायको प्रतिनिधित्व हुनुपर्ने थियो, जुन समुदायलाई बोकेर संसद्सम्म पुर्‍याउनुपर्ने थियो, त्यसो हुन सकेन । यो प्रणाली त राजनीतिक रूपमा जित्‍न नसक्ने, संगठन गर्न नसक्ने, दल खोल्न नसक्ने, दलमा प्रभाव जमाउन नसक्ने मानिसहरूका लागि ल्याइएको हो । तर, यस विपरीतको अभ्यासले समानुपातिकको आधार नै कमजोर भयो ।

व्यक्तिकेन्द्रित अभ्यासले त समुदाय, समाज, भूगोल, लिङ्‍ग, वर्ग सबै छुटाएर व्यक्तिगत सम्बन्धलाई समानुपातिक प्रणालीमा प्राथमिकता दिइरहेको छ । यसले समानुपातिकको आधार नै गुमायो ।

अर्को कोणबाट बहस गर्न नसकिने होइन गर्न सकिन्छ । संसद्‍मा गएर ऐन–कानुन र नीति बनाउने कामका लागि जुनसुकै समुदाय वा वर्गबाट प्रतिनिधित्व गरे पनि विषय बुझ्‍न सक्ने, सैद्धान्तिक धरातलमा सोच्न सक्ने, देश–विदेशको सन्दर्भ जोड्न सक्ने र नीति बनाउँदा आफ्नो समुदाय, वर्ग, लिङ्‍ग वा क्षेत्रका लागि के राम्रो हुन्छ भनेर केलाउन सक्ने मान्छे पनि चाहिन्छ ।

त्यो हिसाबले सक्षम व्यक्तिहरू आउनु व्यावहारिक रूपमा ठिकै हो । तर, अहिले राजनीतिक दलहरूले जे गरे, त्यसले विज्ञता वा क्षमताभन्दा व्यक्तिगत सम्बन्ध बढी हावी भयो । त्यसैले समानुपातिकको बन्दसूची विवादित भयो ।

चन्द्र ढकाल, विदेशी राणा, औद्योगिक घराना, कलाकार, इन्फ्लुयन्सर, मिस नेपालहरू समानुपातिक सूचीमा पर्दा प्रश्‍न उठ्नु स्वाभाविक हो । तर, संविधानले तोकेका क्लस्टरभित्र निजी क्षेत्र, कला–संस्कृति क्षेत्र पनि पर्छन् भने तिनको प्रतिनिधित्व पूर्ण रूपमा गलत भन्‍न मिल्दैन ।

उसो त समाज समयसँगै बदलिन्छ । १५ वर्षअघि समानुपातिक प्रणाली ल्याउँदा समाज जस्तो थियो, आज उस्तै छैन । हिजोका सिमान्तकृत परिवारका बच्चाहरू आज शिक्षामा अगाडि बढिसकेका छन् । अधिकारका कुरा उठाउन सक्ने भएका छन् । त्यसैले हिजोकै चरित्रको प्रतिनिधित्व खोज्‍नु जायज छैन ।

तर, जेन–जी आन्दोलनबाट आएको बलिदान बेवास्ता गर्न मिल्दैन । ७६ जनाले ज्यान गुमाएको आन्दोलनबाट केही पीडित परिवार संसद्सम्म पुगेको भए सामाजिक सन्देश फरक हुन्थ्यो । त्यो भएन । यसले सामाजिक लागत बढाएको छ ।

अब सुधार कहाँबाट ?

पहिलो, समानुपातिक छनोट पार्टी मुख्यालयको बन्द घेराबाट बाहिर ल्याउनुपर्छ । सैद्धान्तिक रूपमा स्वायत्त निकायको परिकल्पना गर्नुपर्छ ।

दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक निर्वाचन मोडेल राम्रो प्रयास हो तर प्राविधिक र संरचनागत कमजोरी छन् । राज्यले सुरक्षित डिजिटल प्रणालीमा सहजीकरण गर्न सक्छ ।

तेस्रो, केन्द्रबाट थोपर्ने भन्दा पनि समुदाय, जिल्ला र पेशागत संगठनलाई जिम्मा दिनुपर्छ ।

जस्तो : म गुरुङ समुदायको हुँ । गुरुङ समुदायसम्बद्ध पार्टी संगठनलाई ‘तपाईंहरूबाट को पठाउने ?’ भनेर जिम्मा दिइयो भने अहिलेको भन्दा छरितो र न्यायपूर्ण हुन सक्छ ।

 

राष्ट्रियसभा निर्वाचनका लागि जनकपुरधाममा कार्यालय स्थापना

महेन्द्रनगर । मधेस, प्रदेशको राष्ट्रियसभाको निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज सो कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले जानकारी दिए । सो कार्यालयबाट उम्मेद्वारी दर्ता, मतदान व्यवस्थापन, मतगणना र निर्वाचनसम्बन्धी काम हुने बताइएको छ । सो कार्यालयको स्थापनापछि मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनको औपचारिक प्रक्रिया अघि बढेको उहाँले बताए ।

निर्वाचन आयोगका अनुसार मधेश प्रदेशमा हाल ३७९ जना मतदाता छन् । ती मतदाताको कूल मतभार १० हजार ८३९ रहेको छ । मतदातामध्ये प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षहरू समावेश छन् । प्रदेश सभातर्फ १०७ सदस्य मतदाता छन् । प्रत्येक प्रदेशसभा सदस्यको मतभार ५३ कायम गरिएको छ । यसअनुसार प्रदेशसभा सदस्यतर्फको कूल मतभार पाँच हजार ६७१ रहेको निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख गरी २७२ जना मतदाता छन् । उनीहरूको मतभार १९ कायम गरिएको छभने स्थानीय तहका जनप्रतिनिधितर्फको कूल मतभार पाँच हजार १६८ रहेको छ ।

हाल मतदाता नामावली अन्तिम चरणमा पुगेको भए पनि केही कानुनी र प्रशासनिक कारणले अन्तिम नामावली प्रकाशित हुन सकेको बताइएको छ । मुख्य निर्वाचन अधिकृत पुरीका अनुसार निर्वाचन आयोगले आगामी १९ गते मतदाता नामावली सार्वजनिक गर्ने तयारी गरेको छ । अन्तिम नामावली प्रकाशित भएपछि मात्र मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि यकिन मतदाताको सङ्ख्या र कूल मतभार स्पष्ट हुनेछ । आयोगको कार्य तालिकाअनुसार माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुनेछ ।

अवसर पाउँदा पाउँदै छोडेकाे हो, नयाँ रास्वपालाई शुभकामना : सुमना श्रेष्ठ

काठमाण्डाैँ । पूर्व शिक्षा मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्व सांसद सुमना श्रेष्ठले कुलमान, बालेन र रवि लामिछानेबीच एकता भएर बनेको रास्वपालाई आगामी राजनैतिक यात्राको लागि शुभकामना दिएकी छिन् । उनले जेनजी विद्रोह लगत्तै रास्वपा परित्याग गरेकी थिइन् । 

जेनजी विद्रोहपछि सबै वैकल्पिक र नयाँ राजनीतिक शक्तिहरू एक भएर जानुपर्ने माग उठेको थियो। यही दबावबीच बालेन्द्र शाह ‘बालेन’, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र रास्वपाको त्रीपक्षीय एकता भएपछि  उनले शुभकामना दिएकी हुन् ।  साथै, त्रिपक्षीय एकता गर्नमा भूमिका खेल्ने सबैलाई धन्यवाद पनि दिएकी छिन् ।

फेसबुकमा स्टाटस लेख्दै ‘नयाँ रास्वपालाई शुभकामना छ’, उनले भनिन्,जनताको चाहना बलियो नयाँ शक्ति थियो, छ र त्यसका लागि पहल गर्ने सबैलाई धन्यवाद छ।’

यस्तै उनले आफुले रास्वपामा कहिल्यै पनि अवसरको राजनीति नगरेको पनि प्रष्ट पारिन् । युवाहरूका लागि देशमै समान अवसर बनाउने र नेपालीलाई नेपालीमात्र भएर बाँच्न सक्ने अवसर बनाउने बाहेक आफ्नो कुनै एजेण्डा नभएको दाबी गरेकी सुमनाले आफूले रास्वपा छोडेको अवसर नपाएर नभएको बताइन् ।

७८ लाख घुसकाण्डमा पूर्वमन्त्री गुप्तालाई जेलवास

काठमाडौं। विशेष अदालतले पूर्वसामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्‍न श्रेष्ठ र विदूर कोइरालाको इजलासले पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन आदेश दिएको हो । अदालतको यो आदेशसँगै पूर्वमन्त्री गुप्ताको जेलबास हुने भएको छ ।

२२ असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्तासँगै पूर्वमन्त्री रञ्‍जिता श्रेष्ठ चौधरीलगायत छ जनाविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको थियो ।

पोखराको बाटुलेचौरस्थित लिची बगैँचाको १ सय ३४ रोपनी जग्गा हडप्‍न खोज्‍ने बिचौलियासँग घुसवापत ७८ लाख रुपैयाँ लिएको उनको अडियो मन्त्री छँदै बाहिरिएको थियो ।

यसपछि राजीनामा दिन उनलाई चौतर्फी दबाब पर्‍यो । प्रतिनिधिसभामा तत्कालीन विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायतले मन्त्री गुप्तालाई पदबाट हटाउन त्यसबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब बढाए ।

मन्त्री गुप्ताको राजीनामा मागे । अन्ततः ओलीको निर्देशनमा उनले राजीनामा दिए ।

यही प्रकरणमा तत्कालीन भूमि सुधारमन्त्री बलराम अधिकारी पनि मुछिए । तर, उनले राजीनामा दिनु परेन ।

त्यसलाई लिएर विपक्षी दलहरूले आरोप लगाए– प्रधानमन्त्रीको आशीर्वाद मन्त्री अधिकारीमाथि भयो ।’

लिचीबारी प्रकरण ठूलो भ्रष्टाचारकाण्ड हो । पूर्वमन्त्री रञ्‍जिता श्रेष्ठ चौधरी पनि यो प्रकरणमा जोडिएकी छिन् ।

हाल उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा पुगेकी छिन् ।

उनी नेकपाबाट आगामी प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फको बन्दसूचीमा परेकी छिन् ।

गोकर्णेश्वरमा नक्कली प्रहरी पक्राउ

काठमाडौँ । गोकर्णेश्वरमा नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् ।

नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलको खानतलासी गरी रकम असुली गर्ने सिन्धुपाल्चोकका ३७ वर्षीय नानीबाबु लामा र दोलखाका ३४ वर्षीय प्रकाश तामाङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गोकर्णेश्वर नगरपालिका–६ स्थित औषधि पसलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनीहरूलाई आज काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको काठमाडौँ प्रहरीका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । यसैबीच, प्रहरीले बाफलबाट करिब रु चौध लाख सन्तानब्बे हजार पाँच सय भन्सार छलीका सामान बरामद गरेको छ । धनगढीबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ८४९५ नम्बरको बसमा भन्सार छलि गरी ल्याइएका मोबाइलका विभिन्न सामग्री बरामद गरेको हो ।

प्रहरीले सो बसका चालक कञ्चनपुरको बेलौरी नगरपालिका–६ का २५ वर्षीय महेश चौधरीलाई नियन्त्रणमा लिएको छ । प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान पश्चात् पक्राउ परेको व्यक्ति र सामन त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइएको काठमाडौँ प्रहरीले जनाएको छ ।

पाँच दिने सेकाहा महोत्सव सम्पन्न

किमाथाङ्का ।  खाँदबारी नगरपालिका–४ स्थित ऐतिहासिक तथा पर्यटकीय गाउँ सेकाहामा पाँच दिने ‘ऐतिहासिक सेकाहा महोत्सव’ समापन भएको छ ।

शुक्रबारदेखि स्थानीय कला, संस्कृति र पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यका साथ सुरु भएका महोत्सव आज सम्पन्न भएको हो । महोत्सवको समापनमा कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारले सहुलियत दिन तयार रहेको बताए । त्यसैगरी आदिवासीको भाषा संस्कृति संरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्ने मन्त्री राईले प्रतिबद्धता जनाए ।

सेकाहा सामुदायिक विकास क्लबको आयोजनामा सम्पन्न महोत्सवमा सङ्गीतिक कार्यक्रम, सेकाहा गाउँ तथा पर्यटकीय क्षेत्रको अवलोकन, पर्यटन प्रवर्द्धन तथा होमस्टे निरीक्षण, विभिन्न जातजातिको झाँकी प्रदर्शन, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी गरिएको थियो । सेकाहामा गुरुङ समुदायको बाक्लो बस्ती छ । गुरुङ समुदायको मुख्य पर्व तमू ल्होसारको अवसर पारेर महोत्सव आयोजना गरिएको थियो । महोत्सव २० हजार बढी दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।

अपेक्षा गरेभन्दा दोब्बरले गरे बन्दीपुर भ्रमण

बन्दीपुर । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढाउन सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको बन्दीपुरमा छ लाख ३४ हजार पर्यटक पुगेको संयोजक बैंसबहादुर गुरुङले जानकारी दिए ।

बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक गुरुङका अनुसार यस अवधिमा एक लाख विदेशीसमेत गरी चार लाख ५३ हजार पर्यटक बन्दीपुरमा बास बसेका थिए । उनले बन्दीपुरमा वजभोज खान आउने, घुमेर फर्किने पर्यटकको सङ्ख्या करिब दुई लाखभन्दा केही कम रहेको जानकारी दिए ।

बन्दीपुरमा सन् २०२५ र २०२६ मा गरी पाँच लाख पर्यटक बन्दीपुर भित्र्याउने योजना रहेकामा सन् २०२५ मा नै पूरा भएका स्थानीय होटल तथा पर्यटन व्यावसायी खुसी भएका छन् । “दुई वर्षमा पाँच लाख ल्याउने भनेर सोचेका थियौँ, तर एक वर्षमा नै लक्ष्य पूरा भयो”, भ्रमण वर्ष संयोजक गुरुङले भने, “काठमाडौँबाट पोखरा, पोखराबाट चितवन वा काठमाडौँ र चितवनबाट पोखरा जाँदा, आउँदा एकपटक बन्दीपुर बसौँ भन्ने भावना बढेको पायौँ ।” आँबुखैरेनी–पोखरा सडक विस्तारको काम लगभग सकिने चरणमा पुग्दा पर्यटकलाई बन्दीपुर आउन पनि सहज भएको व्यवसायीको भनाइ छ । भ्रमण वर्षमा बन्दीपुरको प्रचारप्रसारको काम पनि राम्रो भएकाले पर्यटक बन्दीपुर आएको विश्वास उनीहरुको छ ।

बन्दीपुर होटल सङ्घ अध्यक्ष फूलमती थापाले भ्रमण वर्षमा आउने पर्यटकलाई कुनै पनि प्रकारको असुविधा नहोस् भनेर सबै होटल व्यवसायी अति नै जिम्मेवारपूर्ण ढङ्गले व्यवस्थापनमा लागेको बताए । स्थानीय रैथाने खानादेखि अतिथि सत्कारले पर्यटक खुसी बनेको उल्लेख गर्दै  भ्रमण वर्षबाट यहाँका होटलले आफूलाई अझै स्तरोन्नति गर्ने र सुविधा थप्दै लैजाने सोचको विकास गरेको उल्लेख गरे ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बन्दीपुर भ्रमण वर्षको प्रवर्द्धन तथा अन्य सहयोगमा पालिकाले सक्दो सहयोग गरेको बताए । बन्दीपुरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा चिनाउनका लागि भ्रमण वर्ष निकै सार्थक र फलदायी भएको थापाको भनाइ छ ।उनले बन्दीपुरको प्राकृतिक सुन्दरता र यहाँको मौलिक कला संस्कृति हेर्न पर्यटकहरु पटकपटक आउने गरेको आफूले पाएको बताए । सामान्य खर्च गर्नसक्नेदेखि महँगो रकम तिर्नसक्ने दुवै पर्यटकका लागि बन्दीपुर उपर्युक्त गन्तव्य भएको अध्यक्ष थापाको भनाइ छ ।

आज डिसेम्बर ३१ का दिन सडक खाना महोत्सवसहित विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेर भ्रमण वर्ष समापन गर्न आयोजक पक्ष लागिपरेको छ । स्थानीय टुँडिखेल, सहिद पार्क, सिद्ध गुफा, थानीमाई, खड्गमाई र विद्यवासिनी मन्दिर, मणि मुकुन्देश्वरी पदमार्ग, मिनी ग्रेटवाल, रानीवन, तीनधारा वनभोज स्थल, गुम्बा, रामकोट, कोरीखा, धरमपानी होमस्टे, राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र, रेशमखेती, मौरीपालन र च्याउ उत्पादन केन्द्र बन्दीपुरका प्रमुख आकर्षण हुन् ।

नेवार, मगर, गुरुङलगायत जातजातिका सांस्कृतिक वेषभूषा र परम्परागत रीतिरिवाज पनि पर्यटकका लागि थप आकर्षण बनेका छन् । हिमालको लहर एकै फ्रेममा देखिने भएकाले स्वदेशी तथा विदेशी पर्यटक बन्दीपुरमा रमाउने गरेका छन् । यहाँका होटल व्यवसाय तीव्र गतिमा विस्तार भइरहेको छ । होटल सङ्घमा आबद्ध ८० भन्दाबढी होटल तथा एक दर्जन घरबास सेवा सञ्चालनमा छन् । साथै, अत्याधुनिक सेवा सुविधासहितको पाँचतारे होटल पनि सञ्चालनको अन्तिम चरणमा पुगेको छ । डुम्रे बजारबाट करिब आठ किलोमिटर यात्रा गरेपछि पुगिने बन्दीपुर बजारमा हाल केबलकारबाट पनि पुग्न सकिने व्यवस्था छ । ठूलढुङ्गाबाट बरालथोकसम्म सञ्चालनमा आएको केबलकार सेवाले सात मिनेटमै पर्यटकलाई बन्दीपुर पु¥याउने हुँदा आवागमन थप सहज भएको छ ।

पुसभित्रै विशेष महाधिवेशन बोलाउने महामन्त्रीद्वयको तयारी, के भन्छन् देउवा ?

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औ महाधिवेशन अन्योलमा पर्दै जाँदा विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र फेरि मतभेद तीव्र बनेको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पक्षमा उभिएका नेताहरूले पुस २६ देखि २८ गतेसम्म विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएका छन् भने सभापति शेरबहादुर देउवा पक्ष त्यसलाई अस्वीकार गर्दै निर्वाचनपछि मात्र नियमित महाधिवेशन हुने अडानमा छ ।

केन्द्रीय समितिले यसअघि पुस १६ मा वडा अधिवेशन र पुस २६-२८ मा १५ औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरे पनि क्रियाशील सदस्यता नवीकरण, वितरण, छानबिन समिति र विधान मस्यौदा समिति गठन जस्ता आधारभूत काम नै सम्पन्न हुन सकेनन् । यसले तोकिएको समयमा नियमित महाधिवेशन असम्भव बनेपछि विशेष महाधिवेशनको माग चर्किएको हो । विशेष महाधिवेशन पक्षधरले पार्टी विधानअनुसार ४० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरी असोज अन्त्यतिर केन्द्रीय कार्यालयमा बुझाइसकेका छन् । उनीहरूका अनुसार ५४ प्रतिशत प्रतिनिधिले माग गरेकाले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनु बाध्यकारी हुन्छ । यही आधारमा पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने तयारी गरिएको दाबी गरिएको छ ।

महामन्त्री थापाले विशेष महाधिवेशन विधानतः अनिवार्य मात्र नभई पार्टीको एकता र आत्मविश्वासका लागि आवश्यक रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा पार्टी अघि बढेको उल्लेख गर्दै सबैलाई एकताबद्ध हुन आह्वान गरेका छन् । विशेष महाधिवेशन पक्षधर नेताहरूले कानुन व्यवसायीहरूसँग छलफल गर्दा महामन्त्रीमार्फत केन्द्रीय कार्यालयले अधिवेशन बोलाउन सक्ने सुझाव पाएको पनि बताएका छन् ।

तर संस्थापन पक्ष भने विशेष महाधिवेशन असम्भव रहेको दाबीमा अडिग छ । प्रवक्ता प्रकाशशरण महतले चुनावअघि महाधिवेशन गर्दा पार्टीको ध्यान भंग हुने र संगठन कमजोर हुने तर्क गरेका छन् । उनका अनुसार आम निर्वाचनपछि मात्रै वडा तहदेखि नियमित अधिवेशन प्रक्रिया अघि बढ्नेछ । सभापति देउवाले पनि विशेष महाधिवेशनमा गए विधि र प्रक्रियामै अर्को विवाद सुरु हुने भन्दै त्यसको आवश्यकता नरहेको बताएका छन् ।

यद्यपि देउवाले यदि नियमित महाधिवेशन गर्न पार्टी तयार भए आफू बाधक नबन्ने पनि स्पष्ट पारेका छन् । आफू सभापतिको उम्मेदवार नबन्ने भएकाले तटस्थ रहने उनको भनाइ छ । पार्टी संस्थापन पक्ष विशेष महाधिवेशन आह्वान गर्ने पक्षमा छैन । सभापति शेरबहादुर देउवाले नियमितको कार्यतालिका आइसकेको हुँदा विशेषको बहस निरर्थक भएको बताएका छन् । ‘विशेष महाधिवेशन हुँदै हुँदैन । गर्ने नै हो भने गरे भइहाल्यो त ! मैले कार्यवाहक दिएकै छु । मैले रोक्ने कुरा चाहिँ हुँदैन,’ मंगलबर बिहान पत्रकारसँग कुरा गर्दै देउवाले भनेका थिए, ‘विशेष महाधिवेशनमा गयो भने त्यसको विधि के हुने भन्ने स्पष्ट छैन । कसरी गर्ने, विशेष माग्नेहरूको विवरण रुजु गराउनै कति समय लाग्ला ? त्यसकारणले यो सम्भव छैन ।’

यसरी कांग्रेसभित्र एकातिर विशेष महाधिवेशनको तयारी तीव्र बनिरहेको छ भने अर्कोतिर संस्थापन पक्ष निर्वाचनपछिको नियमित महाधिवेशनमै जोड दिइरहेको छ । पुस अन्त्य नजिकिँदै जाँदा कांग्रेस कुन बाटो समाउने हो भन्ने प्रश्नले पार्टी राजनीति थप तरंगित बनेको छ । नेताहरुको आ–आफ्नो अडानका कांग्रेस महाधिवेशन पेचिलो बन्दै गएको छ । दुबै पक्षका नेताहरुले आ–आफ्ना तर्क पेस गरे पनि महाधिवेशन कहिले हुन्छ भन्ने स्वयम कांग्रेसका नेताहरुलाई नै थाहा छैन ।

दुई दशकदेखि भारतमा व्यापार गरिरहेका व्यक्ति कांग्रेसको समानुपातिक उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति डा. सरोज कुमारले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पत्र पठाएर समानुपातिक उम्मेदवार छनोटमा ध्यानाकर्षण गराएका छन् । उनले बुधबार पठाएको ध्यानाकर्षण पत्रमा पार्टी संगठनमा नभएका व्यक्ति मो. अन्सार खाँलाई समानुपातिक उम्मेदवार बनाएको भन्दै आपत्ति जनाएका छन् । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा खाँलाई मुस्लिम क्लस्टरमा राखिएको छ ।

पत्रमा भनिएको छ, ‘सर्लाही जिल्लाबाट समानुपातिकतर्फ सिफारिस भएका मो. अन्सार खाँ कहि कुनै समितिबाट सिफारिस नभएको, पार्टी संगठनमा कहिल्यै नदेखिएको नाम हो ।’ उनी भारतमा बसेर व्यापार गर्दै आएको पत्रमा स्मरण गराइएको छ । ‘विगत २०–२५ वर्षदेखि भारतको लुधियानामा व्यापार गरेर बसेका व्यक्ति कसरी कुन मापदण्ड अन्तर्गत समानुपातिक सदस्यमा सिफारिस भयो ?’ प्रश्न गरिएको छ ।

यसलाई सच्याउन ध्यानाकर्षण पत्रमा आग्रह गरिएको छ । पत्रमा भनिएको छ, ‘पार्टी संगठनमा दिनरात काम गर्ने, पार्टी भनेर जीवन नै समर्पण गर्ने आदरणीय साथीहरूको मनोभावना कुल्ची, अन्याय गरि एक्कासी पहुँच, पैसा, पावरको भरमा आउने यी र यस्ता नामहरूको घोर निन्दा तथा भत्र्सना गर्दै नामावली यथाशिघ्र सच्याउन केन्द्रीय समिति समक्ष जोडदार माग गर्दछौँ ।’

 

 

भूमि आयोग कास्कीका अध्यक्षसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि आयोग कास्कीका अध्यक्ष गंगाप्रसाद पोखरेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले राष्ट्रिय भूमि आयोग, जिल्ला समिति, कास्कीका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोख्रेल, भूमि आयोगका तत्कालीन सदस्य तथा मालपोत कार्यालय कास्की, पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, भूमि आयोग कास्कीका तत्कालीन सदस्यहरु आश बहादुर गुरुङ, उमा कुमारी थापा, सोम बहादुर नेपाली र भिम बहादुर बिकविरुद्ध मुद्दा दायर गरेको हो ।

नक्कली सुकुम्बासीलाई विद्यालयको जग्गा दिएको आरोपमा आयोगले उनीहरुविरुद्ध आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । अख्तियारले गैरसुकुम्बासीलाई झुटा विवरणका आधारमा सुकुम्बासी बनाएको देखिएको जनाएको छ । भीमबहादुर विकले आफ्नी पत्नी सुकुमाया कामीको नाममा जग्गा लिएको भन्दै अख्तियारले एक करोड ४० लाख रुपैंया हानी नोक्सानी भएको दावी गरेको छ । आयोगले जग्गा पाउने भीमबहादुर विकलाई पनि मुद्दा चलाएको छ ।

भ्रष्टाचार मुद्दा खेपेका मालपोत कार्यालय कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी लिचीबारी जग्गा प्रकरणमा समेत मुछिएका व्यक्ति हुन् । तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र विचौलियाबिच भूमी आयोग कास्कीका प्रमुख नियुक्तिमा समेत लेनदेन भएको अडियो सार्वजनिक भएको थियो । त्यतिबेला उनीहरुविचको संवादमा भूमी व्यवस्थामन्त्री बलराम अधिकारीले अर्कैसँग घुस खाई कास्कीको भूमि आयोग अध्यक्ष नियुक्ति गरिसकेको कुराकानी बाहिरिएको थियो । त्यही कुराकानीमा प्रसंग निस्किएको भूमी आयोग कास्कीका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोखरेल सहित सबै पदाधिकारीहरु भ्रष्टाचार मुद्दामा परेका हुन् ।

पोखरा महानगरपालिका–२६ लेखनाथमा रहेको सामूदायिक अमरज्योती आधारभूत विद्यालयको ३ रोपनी ३ आना जग्गा भूमी आयोगले नक्कली सुकुम्बासीको नाममा दर्ता गरेको अख्तियारको आरोप छ । आयोगले दायर गरेको आरोप पत्रमा भनिएको छ, ‘प्रतिवादीहरुले बदनियत राखी गैरसुकुम्वासी भिमबहादुर विकलाई भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२क. को उपदफा (१), भूमि सम्बन्धी नियमहरु, २०२१ को नियम ४१ख. राष्ट्रिय भूमि आयोग, गठन आदेश, २०७८ र यस सम्बन्धी कार्यविधिहरु विपरीत जग्गा दिने निर्णय गरी गराई, जग्गा धनी श्रेस्ता पूर्जाको प्रमाण संकेतमा विगतको सुकुम्बासी समस्या समाधान आयोगको अधुरो काम अन्तर्गत सुकुम्बासी समस्या समाधान आयोग, जिल्ला समिति, कास्कीले मिति २०५२-५-१२ मा निर्णय गरी कित्ताकाट भई निर्णय कार्यान्वयन हुन बाँकी रही अधुरो रहेको झुट्टा ब्यहोरा उल्लेख गरी गराई साविक कन्धानीडाँडाँ गाउँ विकास समिति वडा नं.४ कि.नं. ७२५ क्षेत्रफल ३–३–०–० रोपनी जग्गाको श्रेस्ता-पूर्जा मिति २०८०-१२-५ मा मालपोत कार्यालय, कास्कीका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीबाट प्रमाणित गरी गराई जग्गाधनी प्रमाण पूर्जा समेत उपलब्ध गराएकोमा राष्ट्रिय भूमि आयोग, जिल्ला समिति, कास्कीका अध्यक्ष गंगाप्रसाद पोख्रेलले श्रेस्ता लागू गर्न पत्राचार गरे गराएको देखिएको छ ।’

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक अवस्थाबाट निकास निकाल्न तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु अपरिहार्य रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्यः सामूहिक पहल’ कार्यक्रममा उनले निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त गरी संसद् पुनःस्थापना गर्नु अबको बाटो रहेको उल्लेख गरे । “शान्ति, स्थायित्व र समृद्धिका लागि निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेर नयाँ संसद् स्थापना गर्नुपर्छ । नयाँ संसद्ले संविधानमा रहेका अन्योलता हताउने काम गर्नेछ”, पूर्वप्रधानमन्त्रीसमेत रहेका संयोजक दाहालले भने ।

पछिल्ला राजनीतिक घटना र जेनजी आन्दोलनले पुरानो राजनीतिक सोच र स्थापित शक्तिलाई आत्मसमीक्षा गर्न बाध्य पारेको उनले बताए । संयोजक दाहालले राजनीतिक दलका नेतृत्व तहले आफ्ना कमीकमजोरी पहिचान गरी सुधारतर्फ उन्मुख हुनुपर्नेमा पनि जोड दिए । “हामीले आफ्नै आत्मसमीक्षा गरेर कमजोरी कहाँ भयो भनेर खोज्नुपर्छ । स्थापित शक्तिहरू अब नागरिकको आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्ने वा आफ्नो औचित्य सकियो भनेर पाखा लाग्ने मोडमा पुगेका छन्”, उनले भने । दाहालले निर्वाचनलाई राजनीतिक प्रतिस्पर्धा मात्र नभई राष्ट्रिय सहमति निर्माण गर्ने प्रक्रियाका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे । “युवापुस्ता जेनजी प्रदर्शनपछि हामीले राष्ट्रिय सहमति र राष्ट्रिय राजनीतिक एकतामा जानुपर्छ भनेका थियौँ । सर्वपक्षीय सहमति गर्ने वातावरण क्रमशः बन्न थालेको छ” उनले भने ।

दाहालले वर्तमान सरकारले चुनौतीपूर्ण परिस्थितिमा बसेर पनि निर्वाचन गर्ने वातावरण बनाउन सफल भएको उल्लेख गरे  । “के हुन्छ भन्ने अन्योलभन्दा अब निर्वाचनमा केन्द्रित हुनुपर्छ । सरकारले अप्ठेरोबीच पनि विकल्प निर्वाचन नै हो भन्ने वातावरण बनाउँदै गएको छ”, उहाँले भन्नुभयो । कार्यक्रममा नेकपाका संयोजक दाहालले राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धि निजी क्षेत्रको सक्रियता बिना सम्भव नहुने तर्क गर्नुभयो । “निजी क्षेत्रलाई संरक्षण र प्रोत्साहन गरिएन भने विकास र समृद्धि सम्भव हुँदैन । निजी क्षेत्रको प्रवर्द्धन नगरी अर्थतन्त्र उकास्ने सपना पूरा हुँदैन”, उनले भने ।

दाहालले राज्य, निजी क्षेत्र र समुदायबीचको सहकार्यबाट मात्र रोजगार सिर्जना, लगानी विस्तार र उत्पादन वृद्धिबाट समृद्धि सम्भव हुने धारणा राखे ।

भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी

काठमाडौँ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्का संरचनाको बाँकी बक्यौता उठाउन व्यापारी तथा सङ्घसंस्थालाई तत्कालै पत्र काट्ने बताएकि छिन् ।

भृकुटीमण्डपको आज अवलोकनपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भनिन्, “कतिपय संरचनाको बक्यौता बाँकी छ भन्ने सुनेका थियौँ, त्यो समस्या आज आफैँले थाहा पायौँ, बाँकी बक्यौता तिर्नका लागि आजै पत्र काट्दैछौँ ।” मन्त्री श्रेष्ठले भाडा सम्झौता नवीकरणका क्रममा समयानुकूल भाडादर तय गरिने स्पष्ट पार्नुभयो ।

बक्यौता बाँकी भएकाको सूची तयार भइसकेको उहाँको भनाइ छ । व्यापारिक प्रयोजनका लागि भाडा लिइएकाबाट बक्यौता उठाउन सुरु गरिनेछ । भृकुटीभण्डपका संरचनाको भाडासम्बन्धी विषयमा यसअघि समाजकल्याण परिषद्मा पनि छलफल भएको जानकारी दिँदै मन्त्री श्रेष्ठले आज विस्तृतमा अवलोकन गरिएको बताइन् ।

नेताहरुले दौडधूप थाल्नु भएको छ, निर्वाचन सुनिश्चित छ : मन्त्री खरेल

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले फागुन २१ गते हुने निर्वाचन सुनिश्चित भइसकेको र अब कुनै अन्योल नरहेको दावी गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । खरेलका अनुसार शीर्ष नेताहरू निर्वाचनको तयारी र प्रचारमा व्यस्त हुन थालेका छन् ।

उनले पछिल्लो २९ वर्षमा देखिएका अत्यन्त ठूला मुद्दाहरू अदालतसम्म पुगेको उल्लेख गर्दै यसले सुशासनको जग बसाल्ने काम गरेको बताए । ‘मलाई अनुभूति भएको छ, मुलुक निर्वाचनमय भएको छ,’ खरेलले भने, ‘शीर्ष नेताहरुले दौडधूप गर्न थाल्नुु भएको छ । प्रत्यक्ष निर्वाचनका लागि १६५ सिट निर्धारण गर्नुपर्नेछ । अब निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योल समाप्त भएको छ । अब चुनाव सुनिश्चित भएको छ ।’

सञ्चारमन्त्री खरेलले पछिल्लो २० वर्षको इतिहासमा अदालतमा दर्ता भएका भ्रष्टाचारका मुद्दा सबैभन्दा धेरै भएको दाबी समेत गरे । कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रले भोग्नुपरेको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरे । उनका अनुसार ३८ अर्ब रुपैयाँभन्दा बढीको निजी क्षेत्रको सम्पत्ति सहित कुल ८४ अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति क्षति हुँदा मन रोएको अवस्था छ ।

खरेलले प्रधानमन्त्री तथा सरकारले निजी क्षेत्रलाई साथ दिएको उल्लेख गर्दै उद्योग, व्यापार र व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण र सुरक्षाको प्रत्याभूति सबैको साझा प्रतिबद्धता हुनुपर्नेमा जोड दिए । उनले भने, ‘निजी क्षेत्रलाई इन्कार गरेर समाजवाद सम्भव हुँदैन । उद्योग–व्यवसाय फस्टाउने वातावरण बनाउनु आजको आवश्यकता हो ।’

चुनाव सर्ने र सरकार फेरिने हुनु हुँदैन : बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तोकिएकै मितिमा चुुनाव हुनुपर्ने बताएका छन् । यही सरकारले चुनाव सम्पन्न गर्नुपर्ने उनले बताएका छ । त्यसका लागि अठोट गर्न उनले सरकार, सबै राजनीतिक दल र नागरिकलाई आग्रह गरेका छन् । शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले यही सरकारले निर्धारित मितिमै चुनाव सम्पन्न गर्नुपर्ने बताएका हुन् ।

‘चुनाव हुँदैन, तयारी पुगेको छैन जस्ता कुरा गरेर अब हुँदैन । यो सरकारले २१ फागुनमा चुनाव गराउन सक्छ, प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा तोकिएको समयमै चुनाव हुनुपर्छ । अन्यथा सोच्नु हुँदैन । यही नेतृत्व सक्षम छ,’ भट्टराईले भने । वर्तमान प्रधानमन्त्री सुशीला कार्कीकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका भट्टराईले आजित हैरान भएँ भन्ने प्रधानमन्त्री कार्कीको अभिव्यक्ति मानवीय स्वभावजन्य भएको टिप्पणी गरे । प्रधानमन्त्री कार्कीले केही दिनअघि दलदेखि जेनजीका विभिन्न समूहले आजै छोड भोलि नै छोड भन्ने गरेको भन्दै आफू आजित र हैरान भएको बताएकी थिइन् ।

पूर्व प्रधानमन्त्री भट्टराईले नेपाललाई शान्ति केन्द्रका रुपमा घोषणा गरेर विश्वबाट मान्यता लिनुपर्ने प्रस्ताव गरेका छन् । पूर्व प्रधानमन्त्री भट्टराईले ‘हामी कसैसँग लड्दैनौं, हामी लगानी ल्याएर विकास गर्छौ’ भनेर संकल्प गर्नुपर्ने बताएका हुन् । डा. भट्टराईले मुख्यतः भारत र चीन त्यसपछि तेस्रोमा बाह्य मुलुकबाट आईटीलगायतसँग जोडेर पुँजी र प्रविधि भित्र्याउनु पर्ने अवस्था रहेको बताए । उनले भने, ‘लेबर एक्स्पोर्ट गर्नुको साटो फुड र सर्भिसेज एक्स्पोर्ट गरौै यसो गर्‍यो भने देश बन्छ ।’

 

 

आठ वर्षपछि खुलेको अम्बिका हत्या रहस्य: पति नारदमणिले गरे हत्या स्वीकार

काठमाडौं– भोजपुरको भोजपुर नगरपालिका–६ देउरालीका नारदमणि राईले श्रीमती अम्बिका श्रेष्ठको हत्या गरेको आठ वर्षपछि स्वीकारेका छन् ।

उनले आवेशमा आएर एक झापड हानेको र अम्बिकाको टाउको भित्ताको ढुङ्‍गामा जोडले ठोक्किँदा अचेत भएर लडेको बताए । त्यसपछि घिसार्दै घरभित्रको खाटमा लगेर अम्बिकालाई राखेको बयान दिएका छन् ।

घटना १९ साउन २०७४ को भए पनि उनले आठ वर्षपछि मात्रै आफैंले हत्या गरेको स्वीकारेका हुन् ।

उनलाई प्रहरीले गएको २४ मंसिरमा मोरङको बेलबारीबाट पक्राउ गरेको थियो । उनीविरुद्ध मृतक अम्बिकाको दाजु प्रेमकुमार श्रेष्ठले पक्राउ परेको चार दिनपछि २८ मंसिरमा थप जाहेरी दिए जहाँ अम्बिकाको हत्या श्रीमान् नारदमणिले नै गरेको किटान गरिएको छ ।

पक्राउ परेपछि उनले श्रीमती अम्बिकाको हत्या गरेको मात्रै स्वीकारेनन्, रेबिजका कारण छोरा गुमाउनु परेपछि गम्भीर चिन्तामा अम्बिका परेको दुःखद् क्षणको स्मरण गरेका छन् ।

पुत्र वियोगकै कारण उनले माधक पदार्थ सेवन गर्न थालेको बताए ।

१९ साउन २०७९ मा माइतीबाट घर आउँदा पनि उनले माधक पदार्थ सेवन गरेको र सिकुवामा बसेको देखेर खाना खान बोलाउँदा ‘तेरो काटो तैँ खा’ भनेको पनि बताए । त्यसपछि रिस थाम्न नसकेर एक झापड हानेको र उनको टाउको जोडले भित्ताको ढुुंगामा ठोक्किँदा अचेत भएर ढलेको भनेका छन् ।

तर, अम्बिकाका दाजु प्रेमका अनुसार नारदमणिले भोजपुरकै मीना राईसँग सुटुक्क दोस्रो विवाह गरेको र त्यसपछि अम्बिकालाई कुटपिट गर्न थालेका हुन् ।

नभन्दै नारदमणिले पनि मीनासँग विवाह गरेको र उनलाई धरानको पानबारीमा राखेको स्वीकारेका छन् ।

उनै मीनासँगको सम्बन्धमा खटपट आएपछि पहाड घर गएको र त्यही क्रममा अम्बिकाको हत्या गरेको अनुसन्धानको क्रममा प्रहरीसँग बयान दिएका छन् ।

अम्बिकाको हत्यापछि उनले संगीता तामाङसँग विवाह गरेर मोरङको बेलबारीमा बस्ने गरेको खुलेको छ ।

बुधबार अम्बिकाको हत्या घटनासम्बन्धी यो मुद्दा जिल्ला अदालत भोजपुर दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादी नारदमणिविरुद्ध जन्मकैदको मागदाबी गरेको छ ।

अर्यालको प्रश्न : संविधान बनेको १० वर्षमै शान्तिको विषयमा बहस गर्नुपर्ने अवस्था कसले बनायो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले संविधान बनेको १० वर्षमै शान्तिकै विषयमा बहस गर्नुपर्ने अवस्था आउनुको कारण खोज्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उपसभापति अर्यालले २१ औं शताब्दीमा विश्व विज्ञान प्रविधिमा प्रतिस्पर्धा गरिरहेको अवस्थामा नेपालमा भने शान्ति र स्थायित्वकै विषयमा बहस गर्नुपर्ने अवस्थाको कारक खोज्नुपर्ने बताएका हुन् ।

‘यो अवस्था कसले ल्यायो ? किन आयो ? यसको उत्तर कसले दिनुपर्ने हो ? यसको पनि बहस आवश्यक छ,’ उनले भने । भदौ २३ र २४ को घटना किन भए भन्ने विषयमा पनि बहस हुनुपर्ने उनले बताएका छन् । यसबाट निजी क्षेत्र प्रभावित भएको अर्यालले बताए । ‘नेपालको निजी क्षेत्रले ५० प्रतिशत बढी रोजगारी सिर्जना गर्दै आएको छ । ५५ लाख मानिसलाई रोजगारी दिएको छ । यसले सामाजिक समृद्धिमा ठूलो भूमिका खेलेको छ । प्रारम्भिक मूल्यांकनअनुसार निजी क्षेत्रमा ८० अर्ब बराबरको क्षति भयो,’ उनले भने ।

‘शान्ति र आर्थिक समृद्धि एकअर्कासँग गाँसिएका छन्,’ अर्यालले भने, ‘शान्ति बिना समृद्धि सम्भव छैन र समृद्धि बिना शान्ति दीगो रहँदैन भन्ने मर्मलाई निजी क्षेत्रले स्वीकार गरेको छ ।’ राजनीतिक स्थायित्वले लगानी, रोजगारी र राष्ट्रिय उत्पादन वृद्धिमा सकारात्मक प्रभाव पार्ने र जनआशा मजबुत बनाउने उनले बताए । उनले देश चुनाव केन्द्रित भइरहेको बताउँदै सरकार, निर्वाचन आयोग र सम्बन्धित पक्षलाई उनले धन्यवाद ज्ञापन गरे ।

लिङदेनको आरोप : कति सिट जित्ने थाहा छैन, प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नयाँ भन्नेहरू सिद्धान्त र विचारले नयाँ नभएको जिकिर गर्दै प्रधानमन्त्रीको दलालीमा लागेको आरोप लगाएका छन् । राप्रपा र राप्रपा नेपालबीच बुधबार काठमाडौँमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले नयाँ पार्टीहरू एकाएक जोडिनुलाई शंकाका रुपमा लिएको जनाएका छन् ।

‘नयाँ भन्ने पार्टीहरू कसरी जोडिए ? अघिल्लो दिन एकले अर्कोलाई के भनेर गाली गरिरहेका थिए, रातारात जोडिए । कसले जोड्यो ?,’ अध्यक्ष लिङदेनले भने, ‘जोडिएर के गर्ने भन्ने केही थाहा छैन । कति जित्ने भन्ने थाहा छैन । पार्टीभित्र प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो ।’ नयाँ पार्टीहरू विचारविहीन भएको उनको भनाइ थियो । ‘सिद्धान्त के हो, विचार के हो, स्पष्ट छैन,’ उनले भने । जेनजी आन्दोलनपछि नेपाली कांग्रेस र नेकपा (एमाले) पनि कमजोर भएको उनले जिकिर गरे । माओवादी त आफ्नो नामै फेरेर गएको उल्लेख गर्दै लिङदेनले भने, ‘हाम्रो एजेण्डाका लागि यो उर्वर समय हो ।’

यस्तो अवस्थामा आउँदो प्रतिनिधि सभाको चुनावलाई आन्दोनलका रुपमा लिन अध्यक्ष लिङदेनले आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरे । ‘फागुन २१ को चुनाव समस्याको समाधान होइन । जेनजी विद्रोह २०८४ सालको चुनाव २०८२ मा गर्नका लागि भएको होइन । राजा, राजनीतिक दल र नवयुवा पुस्ता लगायत सबैको सर्वपक्षीय सहमतिबाट चुनाव गर्नुपर्छ । तर, जबजस्ती गरेर मुलुक चुनावतिर गएको छ,’ उनले भने, ‘चुनावलाई आन्दोलनको रुपमा प्रयोग गर्नुपर्नेछ । चुनावलाई आन्दोलनका रुपमा प्रयोग गर्न, आफ्नो क्षेत्रमा खटिन आग्रह गर्दछु ।’

अध्यक्ष लिङदेनले कमल थापा पार्टीमा नहुँदा अपूर्ण जस्तो लागिरहेको र अब पूर्ण भएको बताएका छन् । ‘कमल दाइ नहुँदाको राप्रपा मेरो मनमा अपूर्ण जस्तो लाग्थ्यो । उहाँले छाडेर जानुभयो, म पार्टीको अध्यक्ष, मैले रोएर हिँड्न पनि नहुने । कमल दाइ नभएर यो पार्टी भएन भन्न पनि नहुने । उहाँ नभएर पनि चल्छ भन्नुपर्‍यो । चलायौं पनि,’ उनले भने । लिङ्देनले भने, ‘तर मनमा एक प्रकारको रिक्तता भइरहेको थियो । आज त्यो पूरा भएको छ । सबै जना बेखुसी हुनुहुन्थ्यो, आज त्यो पूर्ण भएको छ । सबैजना खुसी हुनुहुन्छ, सबैभन्दा बढी म खुशी छु ।’

उनले पार्टीलाई कसैले पनि एक्लै चलाउन नसक्ने भन्दै सबै मिलेर अघि बढ्नु पर्ने बताए । पार्टी अध्यक्षको हिसाबले आफूले त्यसको नेतृत्व लिने पनि बताए । ‘कोही एक्लैले चलाउने होइन, हामी सबैले मिलेर चलाउने हो । पार्टी अध्यक्षको हिसाबले सबैलाई मिलाएर लान्छु । तपाईंहरूले अन्यथा सोच्नु पर्दैन, सबैलाई मिलाएर लैजाने जिम्मा मेरो हो,’ अध्यक्ष लिङ्देनले भने ।

मलाई भगाएको मानिस थुनियो, लुट्ने थुनिएन : प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले लोकतान्त्रिक विधि नमान्दा देशमा झन ठूलो समस्या दोहोरिने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा उनले भदौ २३ र २४ गते भएका घटनालाई छुट्टाछुट्टै रूपमा हेर्नुपर्ने भन्दै दुवै दिन कानुन मिच्नेहरूमाथि कारबाही हुनुपर्ने स्पष्ट पारे । महतले भदौ २३ गते उठाइएका मागहरू ठिक भएको बताए । तर सरकारले त्यस दिन अत्यधिक बल प्रयोग गरेको स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।

‘सरकार सुन्न सक्ने हुनुपर्छ,’ उनले भने, ‘तर २४ गते भएको विध्वंश पनि गलत हो ।’ उनले २३ गते कानुन मिच्ने र २४ गते कानुन मिच्ने दुवैलाई कानुनी कठघरामा ल्याउनु पर्ने बताए । आफूलाई भगाउने व्यक्ति पक्राउ परे पनि लुटपाट गर्ने व्यक्ति भने नसमातिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

‘मलाई भगाएको मानिस थुनियो, लुट्ने थुनिएन,’ उनले भने, ‘अदालतमा पठाएपछि बाहिर आएको हो ।’ महतका अनुसार २३ र २४ गतेका घटनालाई एउटै रूपमा हेर्न मिल्दैन। उनले लोकतान्त्रिक विधि नअपनाउँदा समस्या निरन्तर दोहोरिने बताए । देश निर्वाचनतर्फ गइसकेको उल्लेख गर्दै उनले नयाँ संसद्ले विगतका कमी–कमजोरीको समीक्षा गर्ने बताए ।

भदौ २४ गतेको घटनाले देशलाई ठूलो आर्थिक क्षति पुगेको भन्दै अन्तर्राष्ट्रिय आंकलनअनुसार करिब दुई वर्षको बजेट बराबर नोक्सानी भएको उनले दाबी गरे । उनले त्यस घटनाले लगानीको वातावरण अत्यन्तै खराब बनेको बताए । विदेशी लगानी आउन नसकेको र स्वदेशी पुँजी पलायन तीव्र रूपमा भइरहेको उनको भनाइ छ । ‘महत्वाकांक्षा धेरै छ, तर उपलब्धि पुगेको छैन,’ उनले भने, ‘रोजगारी हुँदाहुँदै पनि विदेश जाने प्रवृत्ति बढेको छ ।’ महतले समाज सामाजिक सञ्जाल र भावनामा बग्नु अहिले विश्वव्यापी चुनौती बनेको बताए । सबै समस्याको समाधान कानुनभित्रै खोज्नुपर्नेमा जोड दिँदै उनले २३ र २४ दुबै दिनका दोषीलाई अनिवार्य रूपमा कारबाही गर्नुपर्ने बताए । ‘कानुनी शासन सबैले पालना गर्नुपर्छ,’ उनले भने, ‘यसले मात्रै लगानीको वातावरण बन्छ । अहिले यत्तिकै छोडियो भने भोलि फेरि यस्तै हुनसक्छ, त्यसैले कानुनी दायरामा ल्याउनै पर्छ ।’

भदौ २४ गते तोडफोड र चोरीका भिडियो प्रष्ट छन्, तर सरकार उदार देखियो : माधव नेपाल

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले राज्य सत्तामा बस्नेहरूले गर्ने गल्तीमा खबरदारी गर्नु जनताको अधिकार भएको भन्दै सुन्न सक्ने सरकार बन्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा उनले भने, ‘म राज्य सत्तामा बस्नेहरूले गर्ने गल्तीमा खबरदारी गर्नु जनताको अधिकार ठान्दछु र यसै संघर्षबाट ठूला परिवर्तन सम्भव हुन्छन् भन्ने विश्वास गर्दछु ।’

नेपालले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध खारेज गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सत्तामा बस्नेहरूले लोकतान्त्रिक विधि, प्रक्रिया र परामर्शका आधारमा समस्याको समाधान खोज्नुपर्ने उनको भनाइ छ । भदौं २४ गते भएको विध्वंस, आगजनी र लुटपाटको घटनालाई उनले आपत्तिजनक र दण्डनीय भएको बताए । ‘म भदौं २४ गते भएको विध्वंस, आगजनी र लुटपाटलाई अत्यन्तै आपत्तिजनक र दण्डनीय कार्य मान्दछु,’ उनले भने ।

उनले सिसिटिभी फुटेजका आधारमा दोषीहरूलाई पक्राउ गरी कडा कारबाही गर्न र पीडितलाई न्याय दिन सरकारसँग माग गरे । ‘कसले तोडफोड गरेको भिडियोमा देखिन्छ । कसले लुटेको सिसीटिभी फुटेजबाट देखिन्छ । तर सरकार कारबाही गर्दैन,’ उनले भने । व्यापार, पेशा, शान्ति र समृद्धिका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न सरकार गम्भीर हुनुपर्ने आवश्यकता उनले औँल्याए । शान्ति बहाली गर्न राज्यका संयन्त्रहरू विफल हुनु र सरकारको ध्यान नपुग्नु गम्भीर प्रश्न भएको उनको भनाइ थियो ।

‘म शान्ति बहाली गर्न राज्यका संयन्त्रहरू विफल हुनु र सरकारको ध्यान नपुग्नुलाई गम्भीर प्रश्नको रूपमा लिन्छु,’ उनले भने । नेपालले धेरै स्थायित्वले नेताहरूमा घमण्ड पैदा गरी सत्ताको दुरुपयोग र नीतिगत समस्या बढाउन सक्ने धारणा राखे। नीति र योजनामा निरन्तरता नहुँदा देशको समृद्धि र जनताको जीवनमा प्रत्यक्ष असर परेको अनुभव आफूले गरेको बताए ।

 

निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पताल भर्ना

काठमाडौं । विभिन्न माग राख्दै अनसन बसेका डा. कमल भुसाल (निकोलस भुसाल) को स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको छ । उनलाई आज (बुधबार) दिउँसो अस्पताल भर्ना गरिएको हो । उनलाई अस्पताल भर्ना गरेपछि नेपाल चिकित्सक संघले डा. भुसालको जीवन रक्षाका लागि अविलम्ब आवश्यक कदम चाल्न सरकारसँग माग गरेको छ ।

‘काठमाडौंको माइतीघर मण्डलामा आमरण अनसनमा बसेका नेपाल चिकित्सक संघका आजीवन सदस्य डा. कमल भुसाल (निकोलस भुसाल) को स्वास्थ्यमा विभिन्न समस्याहरू देखा परेकाले नेपाल चिकित्सक संघको पहलमा उहाँलाई काठमाडौंको वीर अस्पतालमा भर्ना गरिएको छ । डा. भुसालको जीवन रक्षाका लागि अविलम्ब आवश्यक कदम चाल्न नेपाल चिकित्सक संघ नेपाल सरकारलाई हार्दिक आग्रह गर्दछ,’ संघले भनेको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै भुसालले आमरण अनसन शुरू गरेका थिए ।

नयाँ उदाएका शक्तिहरुमा जेलेन्स्की प्रवृति : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच पार्टी एकता भएको छ । बुधवार काठमाडौँमा एकता घोषणा सभाको आयोजना गर्दै दुई पार्टीबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । एकता सभालाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूलाई वषौँपछि घर फर्किएको अनुभूति भइरहेको बताए । उनले २०७८ सालको ऐतिहासिक महाधिवेशनपछि विभिन्न कारणले पार्टीबाट एक्लै अलग्गिएको भए पनि देशभरको संगठनसहति घर फर्किएको जिकिर गरे । उनले आफूमाथि लाग्दै आएको गीताको कसम खाएर पनि पार्टी फुटाएको तथा महाधिवेशन हारेर भागेको भनेर लाग्ने गरेको आरोपको खण्डन गर्दै त्यसमा कुनै सत्यता नभएको दाबी गरे । उनले यो एकतामा आफ्नो कुनै स्वार्थ नरहेको जिकिर गरे ।

उनले भने, ‘मलाई आज घर फर्केको अनुभूति भइराखेको छ । आफूले पनि रगत पसिना बगाएर खडा गरेको घरमा फर्कदाखेरि जुन किसिमको अनुभूति हुन्छ अहिले मलाई त्यही भइरहेको छ । वास्तवमा २०७८ साल माघको अन्तिम साता अत्यन्तै भारी मनले मैले राष्ट्रिय प्रजातन्त्र पार्टी (घर) छोडेर गएको थिएँ खुशीले होइन । मन रोईरोई एक्लै अलग भएको थिएँ । त्यसपछि मान्छेहरूले गीताको कसम खाएको मान्छेले पार्टी फुटायो भनेर आरोप पनि लगाएँ । हारेर भाग्यो पनि भने तर यी सबै आरोपहरूमा कुनै सत्यता छैन । एउटा खेलाडी पनि भएको नाताले हारलाई सहर्ष स्वीकार गर्ने चरित्र ममा छ । विभिन्न कारणले घर छोडेर गएँ । गीता छोएर पनि पार्टी फुटाएको र हारेर भागेको आरोप निकारण होला पनि भन्ने ठानेको छु । यद्यपि त्यसमा सत्यता थिएन ।’

उनले गीता छोएर पनि पार्टी फुटाएको र हारेर भागेको आरोप असत्य आरोपहरू निराकरण भइसकेको आफ्नो विश्वास रहेको पनि बताए । उनले इतिहासलाई उपेक्षा गर्न नहुने भन्दै सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको पनि बताए । २०७८ मंसिरमा भएको राप्रपा महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले पार्टी छोडेका थिए । चार वर्षपछि दुवै पार्टीबीच एकता सहमति जुटेपछि थापा पुनः मूल राप्रपामा फर्किएका हुन् ।

उनले राजनीतिक दलहरूको अकर्मण्यताका कारण मुलुक आज समस्या नै समस्याको दलदलमा फसेको आरोप पनि लगाए । थापाले नयाँ उदाएका शक्तिहरूमा युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्की प्रवृत्ति देखिरहेको बताएका छन् । थापाले जेलेन्स्की प्रवृत्तिबाट बच्नुपर्ने बताएका छन् । ‘अहिलेसम्मका घटना क्रम हेर्ने हो भने नयाँ उदयमान शक्तिहरूमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीको प्रवृत्ति देखिरहेको छु,’ थापाले भने, ‘चर्काचर्का नारा दिएर लोप्रियता हासिल गर्ने, त्यसकै आधारमा जनमत लिने र अनि मुलुकलाई बर्बाद पार्ने जेलेन्स्की प्रवृत्ति देखिएको छ ।’

कला क्षेत्रबाट उदाएका युक्रेनी राष्ट्रपति जेलेन्स्की हाँस्य कलाकार हुन् । उनी हाँस्य कलाबाट लोकप्रिय हुँदै राजनीतिमा आएका थिए । उनी राष्ट्रपति भएपछि युक्रेनले रूससँग युद्ध खेपिरहेको छ । थापाले त्यसैलाई इंगित गर्दै अहिलेका नयाँ शक्तिहरूबाट सचेत रहन आग्रह गरेका हुन् । रास्वपा सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) र रास्वपाको उपसभापति कुलमान घिसिङले सच्चिनु पर्ने उनको भनाइ थियो । उनीहरू विचारविहीन भएको थापाको टिप्पणी थियो ।

‘कुनै वैचारिक धरातल छैन, कुनै एजेण्डा छैन,’ थापाले भने, ‘रवि, बालेन, कुलमानभन्दा ओली, देउवा र प्रचण्ड कम क्रान्तिकारी थिएनन् । तर, अवधारण, संरचनागत र नीतिगत परिवर्तन नगर्ने हो भने ओली, देउवा र प्रचण्डलाई यो अवस्थामा आउन २० वर्ष लाग्यो, नयाँ प्रवृत्तिलाई पाँच वर्ष पनि लाग्दैन ।’ जेनजी आन्दोलनको एजेण्डा अपरहण गरिएको उनको आरोप थियो । जेनजी आन्दोलन एकाएक नआएको उनको जिकिर थियो । ‘हामीले तयार गरेको जनचेतना र जनजागरणको जगमा जेनजी आन्दोलन भएको हो । तर सकिन पाउँदा नपाउँदै मध्य रातमा देशी विदेशी शक्तिले आन्दोलनले मुखरित गरेको एजेण्डलाई अपरहण गरे,’ थापाले भने, ‘भ्रष्ट व्यवस्था र भ्रष्ट शासकलाई जोगाइयो ।’

निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा छैन : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पारेका छन् । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य, सामूहिक पहल कार्यक्रममा उनले लगानीको वातावरण नबनेको भन्दै सरकारलाई वातावरण बनाउन आग्रह गरे । उनकाअनुसार समृद्धिका लागि निजी क्षेत्रको संरक्षणको विषय भने अझै पनि ओझेलमा परेको छ । निजी क्षेत्रले निर्बाध रूपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन नसकेको सकेको छैन । ढकालले गलत काम गर्नेहरूमाथि कारबाही नहुँदा दण्डहीनता मौलाउँदै जाने हो कि भन्ने आशंका बढेको बताए ।

उनकाअनुसार उद्यमी र उद्यमशीलता विकासका लागि सहज नीतिगत व्यवस्था, निजी क्षेत्रको सम्मान, निर्बाध पेसा व्यवसाय गर्न पाउने सुनिश्चितता र सम्पत्तिको सुरक्षा महसुस नगर्दासम्म मुलुकमा लगानी हुँदैन । लगानी नभई रोजगारी हुँदैन । रोजगारी नभई आयस्तरमा सुधार हुँदैन । आयस्तर बढ्न सकेन भने मानव विकासमा अपेक्षाकृत सुधार पनि हुन सक्दैन । शिक्षा र स्वास्थ्य सर्वसुलभ बनाउन राजश्व बढ्नु पर्छ । राजश्व बढ्न निजी क्षेत्रले काम गर्न पाउने वातावरण र काम गर्न प्रोत्साहित गरिने नीति आवश्यक छ ।

अध्यक्ष ढकालले भने, ‘पछिल्लो डेढ वर्षदेखि सरकार करिब डेढ खर्ब रुपैयाँले घाटामा छ । बैङ्कहरू करिब ११ खर्ब रुपैयाँ लगानी गर्न तयार छन् । निजी क्षेत्र रकम लिएर उद्यम गर्न चाहँदैन । त्यसैले राजश्वको रकमले कर्मचारीको तलब भत्ता पनि नपुग्ने अवस्था आएको छ । पूर्वाधारमा लगानी हुन सकेको छैन । निजी क्षेत्रले निर्माण गर्ने पूर्वाधारमा पनि विभिन्न बहाना बनाएर अवरोध हुने गरेको छ । पूर्वाधार निर्माण र उद्योग कल कारखाना भएनन् भने रोजगारी कसरी सम्भव होला ? स्वदेशमै रोजगारी दिने कल्पना कसरी सम्भव होला ?’

उनले भने, ‘सरकारले वर्षको ३ हजारदेखि ३५ सय जनालाई मात्रै रोजगारी दिन सकेको छ । निजी क्षेत्र संकुचित हुँदा त्यहाँ पनि अवसर छैन । त्यसैले युवाहरू बिदेशिन बाध्य छन् । विदेशमा पुगेर निजी व्यवसायमा नेपाली युवाहरू काम गर्न हुने हो भने नेपालमै निजी उद्योग तथा प्रतिष्ठानमा काम गर्न किन नहुने ? समस्या एउटै छ, यहाँ निजी क्षेत्रले काम गर्न पाएको छैन । नीतिगत अवरोध छ । प्रक्रियाहरू झन्झटिला छन् । व्यवसायी मैत्री वातावरण बन्न सकेको छैन ।’ अध्यक्ष ढकालले भने, ‘सर्वसाधारणमा समेत निजी क्षेत्रप्रति नकारात्मक भावना छ । पछिल्लो समयको आगजनी र तोडफोडले थप निराश बनाएको छ । त्यसैले नेपाल उद्योग वाणिज्य महासंघले शान्ति, स्थायित्व र समृद्धिका लागि सामूहिक पहल आवश्यक भएको महसुस ग¥यो । र, आज समाजका सबै सरोकारवालाहरूलाई यहाँ आमन्त्रित गरेका हौ । यही र यस्तै सार्वजनिक कार्यक्रमहरूमार्फत हामीले अर्थतन्त्रमा ८१ प्रतिशत तथा रोजगारीमा ८६ प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रप्रतिको यहाँहरूको दृष्टिकोण जान्न खोजेका हौँ ।’

अध्यक्ष ढकालले आफूहरूले राजनीति प्रतिबद्धता चाहेको बताए । राजनीतिक स्थायित्वका लागि निर्वाचन गरी लोकतन्त्र संस्थागत गर्न जरुरी रहेको बताए । उनकाअनुसार यदि निजी क्षेत्रलाई सुरक्षित र सम्मानित भई काम गर्न नदिए सफल हुन सकिँदैन । यदि निजी क्षेत्र असफल भए त्यो असफलतामा मात्रै सीमित नरहेर आउने पुस्तामा पनि असफलतामा जानेछ । ढकालले नेपालको राजनीतिमा ७५ वर्षमा आधा दर्जन बढी निर्णायक र परिवर्तनकारी राजनीतिक आन्दोलन भएपनि समयानुकूल सर्वसाधारणको जिविकामा अपेक्षाकृत सुधार हुन नसकेको समेत बताए ।

अध्यक्ष ढकालले भने, ‘देशका रोजगारदाता, सेवा प्रदायक, पूर्वाधार निर्माणकर्ता, राजश्व संकलनमा योगदान एवं सम्पत्ति निर्माण गर्ने उद्यमी व्यवसायीको मनोबल उच्च राखी लगानी बढाउन निर्बाध पेसा व्यवसाय गर्न पाउने र सम्पत्तिको हकसम्बन्धी नैसर्गिक अधिकारको सम्मान हुने गरी उद्योग व्यवसाय क्षेत्रलाई प्राथमिक महत्वको क्षेत्रका रूपमा नेपाल सरकार ९मन्त्री परिषद० बाट पारित गरी निजी क्षेत्र संरक्षण एवं प्रवद्र्धन रणनीति लागू गरियोस् भन्ने हाम्रो माग हो । यो रणनीति निर्माण गरी लागू गर्नु आजको आवश्यकता हो ।’ अध्यक्ष ढकालले निर्धारित समयमै निर्वाचन होस् र स्थायित्व कायम होस् भन्ने निजी क्षेत्रको चाहना रहेको समेत बताए । उनकाअनुसार यो वा त्यो बहानामा आगामी दिनमा निजी क्षेत्रमाथि आक्रमण हुने वातावरण कहीँ कतैबाट सिर्जना हुनु हुँदैन । मुलुकमा दण्डहिनताले प्रश्रय पाउनु हुँदैन । निर्बाध पेसा व्यवसाय गरी खान पाउने सबैको नैसर्गिक अधिकार भएकाले उनको भनाइ छ ।

 

दाउरा काट्दै गर्दा नाबालिका बलात्कृत, बलात्कार आरोपी नाबालक दाजु

काठमाडौं– बझाङकी १३ वर्षीया परिवर्तित नाम चैनपुर २१ (क) दाउरा काट्न गएकी थिइन् । केही घण्टामा रुँदै घर आइन् । प्रसङ्‍ग १९ मंसिरको हो ।

रुँदै आएकी उनलाई बज्यैले सोधिन्, ‘के भयो ?’

उनले भनिन्, ‘चैनपुर २१ (ङ)ले दाउरा काट्दै गर्दा पछाडिबाट समाते । भुइँमा लडाए । अनि बलात्कार गरे ।’

पीडाले आफू रुँदा दिदी (चैनपुर २१ घ)ले सुनेको र किन रोएको भन्दा ती बालक भागेको पनि बताएकी छिन् ।

बलात्कार आरोपी नाबालक र बलात्कारपीडित बालिकाको हजुरबुबाहरू सहोदर दाजुभाइ हुन् । त्यसो हुनाले यो बलात्कार घटनालाई हाडनातामा करणी भनिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय बझाङले बुधबार ती नाबालकलाई प्रतिवादी बनाउँदै जिल्ला अदालतमा आरोपपत्र दायर गरेको छ ।

आरोपपत्रमा प्रतिवादी नाबालकले भने नाबालिका आफैंले आफूलाई बोलाएको र करणी गरौँ भनेको बयान दिएको उल्लेख छ ।

उनले बलात्कार गरेको अस्वीकार गरेका छन् । सहमतिमा करणी भएको उनको जिकिर छ ।

आरोपपत्रमा सरकारी वकिल कार्यालयले ती आरोपी नाबालकलाई १२ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

पीडित नाबालिकलाई मनासिव क्षतिपूर्ति पनि आरोपीबाट दिलाउन माग गरेको छ ।

प्रचण्डको प्रश्न : नयाँ संकल्प गर्ने कि औचित्य सकियो भनेर पन्छिने ?

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनले राजनीतिक नेतृत्वलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा उनले अब नयाँ संकल्प र प्रतिवद्धतासहित जनताको आवश्यकतालाई सम्बोधन गर्ने कि आफ्नो औचित्य सकिएको स्वीकार गर्दै पन्छिने भन्ने निर्णायक अवस्थामा राजनीति पुगेको बताए ।

अध्यक्ष दाहालले देश अहिले विरलै देखिने गम्भीर संकटबाट गुज्रिरहेको उल्लेख गर्दै यसको समाधान सर्वपक्षीय सहमति र संकल्पबाट मात्रै सम्भव हुने धारणा राखे । उनले सबै राजनीतिक शक्ति मिलेर अघि बढ्ने वातावरण बन्दै गएको बताए । उनले देश अन्योलमा छैन भन्ने सन्देश प्रधानमन्त्रीले दिन सफल भएको भन्दै उनले त्यसका लागि धन्यवाद व्यक्त गरे ।

उनकाअनुसार अहिले जनता र राजनीतिक दलहरू निर्वाचनको कुनै विकल्प छैन भन्ने निष्कर्षमा पुगेका छन् । अध्यक्ष दाहालले भने, ‘जेनजी आन्दोलनले आत्मसमीक्षा गर्न उत्प्रेरित गर्यो । हामी सबैका अगाडि आत्मसमीक्षा गर्न जरुरी छ । नयाँ संकल्प र प्रतिवद्धतासहित जनताको आवश्यकतालाई अगाडि बढ्ने वा आफ्नो औचित्य सकियो भनेर पन्छिने अवस्था बनाइदिएको छ । यो देश निकै अप्ठ्यारो परिस्थितिबाट गुज्रिएको छ । यो विरलै आउने संकट हो । हामीले यो संकटको समाधान गर्ने भनेको सर्वपक्षीय सहमतिबाट अघि बढ्नुपर्छ । सर्वपक्षीय संकल्पबाट अघि बढ्ने वातावरण बनेको छ।’

अध्यक्ष दाहालले विकास र समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको बताए । निजी क्षेत्रलाई प्रोत्साहन नगरेसम्म देशले आर्थिक प्रगति हासिल गर्न नसक्ने उनको भनाइ थियो । उनले शान्ति, स्थायित्व र समृद्धि आजको मुख्य आवश्यकता भएको उल्लेख गर्दै त्यसका लागि निर्वाचन सम्पन्न गर्नु र आगामी सरकारमार्फत संविधान संशोधन गर्नु नै दीर्घकालीन समाधान भएको बताए ।

नातावादको विरोधी हुँ, भान्जा र ससुरालाई बन्दसूचीमा राखेको छैन : कुलमान घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक उम्मेदवारसँग आफ्नो नाम जोडेकोप्रति आपत्ति जनाएका छन् । मन्त्री घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत समानुपातिक उम्मेदवारसँग आफ्नो नाम जोडेको भन्दै आपत्ति जनाएका हुन् ।

केही दिन अघिदेखि उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच भएको सहमतिपछि समानुपातिक निर्वाचनमा आफ्नो ‘भान्जा’ र ‘ससुरा’ लाई उम्मेदवार बनाएको भन्दै मन्त्री घिसिङको चौतर्फी आलोचना भइरहेको छ । उनले लेखेका छन्, ‘समाचार तथा चर्चामा ‘भाञ्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भाञ्जा होइनन्, उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति हुन् । त्यसैगरी, समानुपातिक सूचीमा रहेका र मेरो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो आफ्नो ससुरा नभएको स्पष्ट पार्न चाहन्छु ।’

मन्त्री घिसिङले समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा नभई पार्टीको विधि, मापदण्ड र सामुहिक निर्णय प्रक्रियाबाट तयार गरिएको दाबी गरेका छन् । राजनीतिक असहमति स्वाभाविक भएता पनि झूट र भ्रम फैलाएर बदनाम गर्ने प्रयास आपत्तिजनक भएको उनले बताए । मन्त्री घिसिङले नातावाद र कृपावादको राजनीतिविरुद्ध आफू लामो समयदेखि उभिरहेको पनि उल्लेख गरेका छन् । उनले बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयभित्र सच्याइने प्रतिबद्धता जनाएका छन् । मन्त्री घिसिङले पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा आफू दृढ रहेको उल्लेख गर्दै सबैलाई भ्रामक समाचार र टिप्पणीको भ्रममा नपर्न आग्रह गरेका छन् ।