`

पठाओ राइडर बन्न अब अनिवार्य परीक्षा उत्तीर्ण हुनुपर्ने

काठमाडौं । राइड शेयरिङ सेवा प्रदायक पठाओ नेपालले अब आफ्नो राइडरहरुका लागि अनिवार्य परीक्षाको व्यवस्था गरेको छ । राइडर छनोट र तालिम प्रक्रियालाई अझ सुदृढ बनाउँदै, राइडर बन्न चाहनेहरूका लागि अनलाइन प्रशिक्षण र परीक्षा अनिवार्य गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, सुरुदेखि नै कक्षामा बसेर प्रशिक्षण दिने अभ्यास निरन्तरता दिँदै आएको थियो भने पठाओ नेपालको सेवा देशभर फैलिँदै गएसँगै काठमाडौँ बाहिरका चालकहरूलाई लक्षित गर्दै यो प्रक्रिया क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गरिएको छ ।
पठाओकी निर्देशक सुरक्षा हमालका अनुसार राइडर बन्नका लागि ब्लुबुक, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र तेस्रो पक्ष बीमा अनिवार्य छ । त्यसपछि एपमा रहेको लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस) मार्फत अनलाइन प्रशिक्षण सञ्चालन हुनेछ । सो प्रशिक्षणपछि लिइने परीक्षामा परीक्षार्थिले कम्तीमा ८० प्रतिशत अंक ल्याउनुपर्नेछ । तथापि, असफल भएकाहरूले भोलिपल्ट पुनः प्रशिक्षण लिएर पुनः परीक्षा दिन सक्ने जनाइएको छ ।

यसले राइडर बन्ने प्रक्रियालाई अझ पारदर्शी र सजिलो बनाउँदै यात्रालाई पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्य राखेको छ । इच्छुकहरूले पठाओ ड्राइभ एप डाउनलोड गरी अनलाइनमार्फत दर्ता प्रक्रिया सुरु गर्न सक्ने छन् । ड्राइभ एपमा खाता खोली आवश्यक कागजातहरू अपलोड गरिसकेपछि पठाओको कार्यालयले ती कागजातहरूको जाँच गर्नेछ र सबै कागजात सही भएमा २४ घण्टाभित्र खाता प्रमाणीकरण हुने कम्पनीले जनाएको छ ।

त्यसपछि, पठाओ ड्राइभ एपमार्फत नै अनलाइन प्रशिक्षण लिन सकिनेछ । प्रशिक्षण पूरा भइसकेपछि परीक्षामा सामेल हुन पाइनेछ । जुन पठाओ एपबाट नै दिन सकिन्छ । उक्त परीक्षामा ८० प्रतिशत वा सोभन्दा बढी अङ्क प्राप्त गरेपछि सम्बन्धित व्यक्तिलाई एसएमएस मार्फत सम्झौतापत्र पठाइनेछ । र, सम्झौतापत्रमा हस्ताक्षर गरिसकेपछि आधिकारिक रूपमा पठाओ चालक (राइडर) बन्न सकिन्छ ।

हमालले थपिन्, ‘हाम्रो लागि सुरक्षा वैकल्पिक कुरा नभई सेवाको मेरुदण्ड हो । ८० प्रतिशत अंक ल्याएर पास हुने यो प्रणालीले हाम्रो ‘सुरक्षा र जिम्मेवार सेवा’को मानकलाई अझ मजबुत बनाउनेछ । यसले ग्राहकहरूलाई सुरक्षित, भरपर्दो र पेशागत अनुभव सुनिश्चित गर्नेछ ।’
कम्पनीको तथ्यांङअनुसार परीक्षामा लगभग ८५ प्रतिशत सहभागी पहिलो प्रयासमै उत्तीर्ण हुनेछ र बाँकीले पुनः परीक्षा दिएर उत्तीर्ण भएको देखिएको छ । यसका साथै सक्रिय पठाओ राइडरहरूले मासिक औसत ४०–५० हजार रुपैयाँसम्मको आम्दानी गर्ने गरेको समेत तथ्यांङ्कले देखाएको छ । डिजिटल प्रणाली आएपछि नयाँ दर्ता हुने चालकहरूमा उत्साहजनक सहभागिता देखिएको बताउँदै हमालले भनिन्, ‘हरेक यात्रा सुरक्षित, भरपर्दो र जिम्मेवार बनाउनका लागि हामीले सुरुवाती चरणमै राइडरहरूको मूल्यांकन लाई अझ व्यवस्थित र प्रभावकारी बनाएका छौँ ।’

 

चितवन राइनोजद्वारा समर्थकलाई निःशुल्क बस व्यवस्था

चितवन । क्रिकेट क्लब चितवन राइनोजले आफ्ना समर्थकलाई काठमाडौँ लैजाने र ल्याउने बसको व्यवस्था गरेको छ । नेपाल प्रिमियम लिग ९एनपीएल०को फ्रेन्चाइज टिम चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनका समर्थकलाई चितवनदेखि काठमाडौँसम्म निःशुल्क बस सेवाको व्यवस्था गरेको हो ।

राइनोजको खेल हुने दिन बिहान खेल हुँदा ५ बजे र दिउँसो खेल हुँदा बिहान ९ बजे चितवनबाट बस छुट्ने चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले जानकारी दिएका छन् । खेल समाप्त भएपछि पुनः चितवन ल्याइने छ । यसका लागि ६ वटा बसको व्यवस्था गरिएको छ । खेलको अनलाइन टिकट हुने दर्शकलाई बसमा लैजाने व्यवस्था गरिएको हो ।

बस चितवन मेडिकल कलेज ९सीएमसी०को प्राङ्गणबाट छुट्ने छ भने समर्थकलाई त्रिवि मैदानसम्म लैजाने छ । चितवन राइनोजको पहिलो खेल आज ११ः४५ बजे कर्णाली याक्ससँग हुँदैछ । यसैगरी मङ्सिर ४ गते दिउँसो ४ बजे लुम्बिनी लायन्ससँग, मङ्सिर १० गते ४ बजे विराटनगर किङ्ससँग, मङ्सिर १२ गते ११ः४५ बजे काठमाडौँ गोर्खाजसँग चितवन राइनोज खेल्दैछ । यसैगरी मङ्सिर १६ गते ११ः४५ बजे जनकपुर बोल्टस्सँग, मङ्सिर १८ गते ४ बजे सुदुरपश्चिम रोयल्ससँग र मङ्सिर २० गते ३ः३० बजे पोखरा एभेन्जरसँग चितवन राइनोज खेल्दैछ । यी खेलपछि अंक तालिकाका आधारमा अरु खेल तय हुनेछन् ।

खेलको पूर्वसन्ध्यामा चितवन र आसपासका जिल्लामा चितवन राइनोजको समर्थनमा ठाउँठाउँमा झण्डा, तुल, ब्यानर, स्टिकर टाँसिएका छन् ।

दिवंगत पत्रकार सुरेश रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी

काठमाडौँ । दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी दिएको छ ।

सुरक्षण मुद्रण कोषमा उनलाई रोजगारी दिइएको हो। सोमबार सञ्चारमन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले उनलाई करार सेवामा काम गर्नेगरी कम्प्युटर अधिकृतको नियुक्ति दिएका छन् ।

पत्रकार रजकको २०८१ चैत १५ मा तीनकुनेमा भएको आन्दोलनमा ज्यान गएको थियो ।

राष्ट्रिय पञ्जिकरण विभागको वेबसाइट ‘ह्याक’

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ‘ह्याक’ भएको छ । वेबसाइट ह्याक भएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले पुष्टि गरेका छन् । ‘साइट ह्याक भएको छ । अहिले रिकभर गर्ने काम भइरहेको छ । डाटाहरु सुरक्षित रहेको भन्ने बुझिएको छ’ काफ्लेले सुनाए ।

अहिले उक्त साइट खुल्दैन । कसले कहाँबाट ह्याक गर्‍यो भन्ने अनुसन्धानकै क्रममा रहेको प्रवक्ता काफ्लेले बताए । सुरुमा विभागको वेबसाइट खोल्दा दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न माग गरिएको सूचना देखिन्यो । अहिले भने त्यो देखिँदैन । हालै निर्वाचन आयोगले मतदाता नामावली संकलनको क्रममा राष्ट्रिय परिचयपत्रको विवरणसँग जोडिएको थियो । तर ह्याक भएको यो साइटमा भने राष्ट्रिय परिचयपत्रका कुनै पनि विवरणहरु नभएको कर्मचारीहरुले बताएका छन् । ‘यो नर्मल वेबसाइट हो यहाँ यहाँ रहेका सामान्य डकुमेन्टहरु भने सुरक्षित छन्’ विभागका एक कर्मचारीले भने ।

 

 

निर्वाचन नै सरकारको अर्जुनदृष्टि

काठमाडौँ । जेनजी आन्दोलनको जगमा गठित वर्तमान सरकारलाई जनता, राजनीतिक दल र राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको समेत समर्थन रहेको छ । यस सरकारलाई आगामी फागुन २१ गते घोषित निर्वाचन सम्पन्न गर्ने, सुशासन सन्दर्भ र भ्रष्टाचार नियन्त्रणबारे सघन रुपमा कार्यान्वयनमा लैजाने ‘म्यान्डेट’ छ । देशको वर्तमान राजनीतिक अवस्थालाई निकास दिने र आसन्न निर्वाचनलाई सुनिश्चित गर्ने निर्णायक घडीमा हामी उभिएका छौँ । मुलुकमा सुशासन कायम तथा भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कुनै कसर बाँकी राख्दैन । जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाउने सन्दर्भमा सरकारले काम थालनी गरेको छ । मुलुकमा पद्धति र प्रणाली स्थापित गर्दै देशलाई आर्थिक समृद्धिको दिशातर्फ अगाडि बढाउन परेको छ । गत २३ र २४ भदौको जेनजी विद्रोहपछि गठित अन्तरिम सरकारले निर्धारित मितिमा नै निर्वाचन सम्पन्न गराउन राजनीतिक दल र जेनजी प्रतिनिधिसँग समेत चरण चरणमा सघन वार्ता र छलफल गरिरहेको छ ।

निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्नेगरी सरकार र राजनीतिक दलहरुसँग भएका छलफलहरु सकारात्मक ढङ्गबाट अघि बढेका छन् । निर्वाचनको वातावरण बनाउनका लागि राजनीतिक दलहरुसँग भएको वार्ताबाट सरकार एकदमै उत्साहित बनेको छ र राजनीतिक दलहरुबाट असाध्यै सकारात्मक जवाफ आएको छ । सबैभन्दा पहिले राष्ट्रपतिको पहलमा दलहरुसँग संवाद भएको थियो भने प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकारका तर्फबाट राजनीति दलहरुसँग एक चरणमा वार्ता भइसकेको छ । प्रधानमन्त्रीले यसअवधिमा शीर्ष राजनीतिक दलका नेताहरुसँग ‘वानटुवान’ पनि वार्ता गरेकी छिन् । निर्वाचन आयोगमा दर्ता भएका पुराना-नयाँ सबै दलका प्रमुख र प्रतिनिधिसँग निर्वाचन तयारीका विषयमा छिट्टै प्रधानमन्त्रीले छलफल गर्ने बताएकी छिन् । सरकार र राजनीतिक दलहरुबीच भएको छलफलबाट सरकार उत्साहित बनेको छ । यसले निर्वाचनको वातावरण बनेको छ । निर्वाचन लोकतन्त्रको मूल आत्मा हो । जनताले आफ्नो प्रतिनिधि चुन्ने प्रक्रिया नै निर्वाचन हो । त्यसैले निर्वाचनको माहोल बनाउन राजनीतिक दल र जनेजीलगायत सबै सरोकारपक्ष उत्तिकै जिम्मेवार भएर प्रस्तुत भएका छन् ।

निर्वाचन सफल बनाउन स्रोत, साधन, जनशक्ति तथा सुरक्षाको वातावरणका लागि सरकारले राजनीतिक दलहरुलाई जानकारी गराएको छ । राजनीतिक दलहरुका तर्फबाट सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो राख्नु स्वाभाविक पनि हो, त्यसप्रति सरकार प्रतिबद्धताका साथ लागेको छ । सरकारका तर्फबाट पनि निर्वाचनको सुरक्षाको वातावरण बनाउन सम्पूर्ण तयारी गर्छ, राजनीतिक दलहरुले ढुक्कसँग निर्वाचन प्रक्रियामा सहभागी हुनुपर्छ भनेर सरकारले विश्वास दिलाएको छ । जेनजी युवा र राजनीतिक दलहरुलाई पनि सँगै राखेर छलफलको वातावरण बनाई उनीहरुको भावना र सहभागितामा निर्वाचन सम्पन्न गराउन पहल सुरु गरिसकेको छ । केही राजनीतिक दलहरूले निर्वाचनमा जाने निर्णय गरिसकेको र केहीले छिट्टै निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अधिकांश दल महाधिवेशन, आमसभा, भेला, सन्देश सभा जेजस्तो गतिविधि गरे पनि निर्वाचनकै तयारीमा लागेका छन् । निर्वाचन आयोग पनि कार्यतालिका बनाएर अगाडि बढेको छ । सुरक्षाकर्मी पनि उच्च मनोबलका साथ अगाडि बढेका छन् । सुरक्षा निकाय निर्वाचनमा सुरक्षा दिन तयार छ । उनीहरूले सुरक्षाको ‘रोडम्याप’ नै बनाइसकेको जानकारी दिएका छन् । अब यसमा कुनै सन्देह गर्नुपर्ने कारण छैन । जनतामा पनि विस्तारै निर्वाचनको रौनक बढ्न थालेको छ ।

जेनजी विद्रोहका क्रममा लुटिएका हातहतियारहरु फिर्ता नभएको र विभिन्न आपराधिक गतिविधिमा संलग्न कैदीहरु समेत फरार रहेको अवस्थामा सुरक्षा चुनौतीको कारण घोषित मितिमा निर्वाचन सम्पन्न हुन गाह्रो रहेको विश्लेषण हुने गरेका छन् । निर्वाचनको पूर्वसन्ध्यामा उत्पन्न सुरक्षा चुनौती र प्रवासी नेपालीको मताधिकारको विषयमा निर्वाचन आयोगले गम्भीर छलफल सुरु गरेको छ । आयोगका अधिकारीहरूले पनि सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै हालको अवस्था विश्लेषण गरिरहेका छन् । जेनजी आन्दोलनको समयमा लुटिएका अधिकांश हतियार फिर्ता भइसकेको जानकारी गृह मन्त्रालयले दिएको छ । केही हतियारहरू अझै बाहिर रहे पनि प्रहरीले विशेष ‘अपरेसन’मार्फत ती हतियारहरु फिर्ता ल्याउने विश्वास छ । अहिले उत्पन्न सुरक्षा चुनौतीको सम्बन्धमा आयोगले गम्भीर रुपमा छलफल गरिरहेको छ ।

त्यसैगरी, विदेशमा रहेका नेपालीहरुले मतदान गर्न पाउनुपर्छ भन्ने कुरा उठेको छ । सरकारले विदेशमा रहेका मतदातालाई कसरी मतदानको अधिकार दिलाउन सकिन्छ र त्यसका लागि कस्तो कानुनी र प्राविधिक सम्भावनाका विषयमा आयोगसँग परामर्श गर्दै आएको छ । अहिले विदेशका केही ठाउँमा भए पनि विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराऊँ भन्ने सरकारको सोचाइ छ । यसबारेमा सरकारले आफ्नै तहबाट अध्ययनसमेत गरिरहेको छ । विदेशमा रहेका नेपालीहरुलाई मतदानमा सहभागी गराउनुपर्ने मागलाई स्वाभाविक मान्न सकिन्छ । विदेशमा रहेका नेपालीहरुले मताधिकार पाउनुपर्छ भन्ने विषयमा अहिले विभिन्न चरणमा छलफल पनि भइरहेका छन् । घोषित मितिमा निर्वाचन गर्दा जेनजी पुस्ताका लाखौँ मतदातालाई मतदान गर्ने अधिकारको सुनिश्चित गर्न सरकारले अध्यादेश ल्याएको छ । सोही आधारमा निर्वाचन आयोगले निर्वाचनको मिति तोकिएपछि बन्द भएको मतदाता नामावली सङ्कलन गर्ने कार्य जारी राखेको छ । अहिले पनि देशभर मतदाता नामावली सङ्कलनको कार्य भइरहेको छ । हाल मतदाता नामावली सङ्कलनदेखि आवश्यक सामग्री खरिद र आचारसंहिता निर्माणसम्मका तयारी अन्तिम चरणमा पुगेका छन् ।

आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणापछि नयाँ मतदाता र राजनीतिक दल थपिने क्रम जारी रहेको छ । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलनमा हालसम्म दुई लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन्भने निर्वाचन घोषणापछि २१ नयाँ दलले दर्ताका लागि आयोगमा आवेदन दिएका छन् । केही दलले दर्ता प्रमाणपत्र पाइसकेका छन्भने केही दल विभाजन भई नयाँ दलको मान्यता पाएका छन् । आयोगमा कात्तिक ३० गतेसम्म एक सय २३ राजनीतिक दलले दर्ताको प्रमाणपत्र लिएका छन्, दल दर्ताको प्रक्रिया रोकिएको छैन । थप ३२ दलले दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचनलाई लक्षित गरी आयोगद्वारा सञ्चालित मतदाता नामावली सङ्कलन तथा अद्यावधिक उत्साहजनक सहभागिता भइरहेको र निर्वाचन आयोगले हिजोसम्म छ लाख २० हजार नयाँ मतदाता थपिएको जनाएको छ । यसले आगामी निर्वाचनका लागि अपार दलीय उत्साह रहेको देखिन्छ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा भाग लिई विवेकको मत प्रयोग गर्ने अवसरका लागि नाम दर्ता गराउन युवा पुस्तालाई आह्वान गर्दै आएकी छिन् ।

मुलुकलाई अगाडि बढाउनका लागि निर्वाचनको अर्को विकल्प छैन । निर्वाचन गराउन नसके मुलुकमा अर्को जोखिम आइपर्छ, निर्धारित समयमा निर्वाचन गराउनै पर्छ । निर्वाचनको माहोल बनाउन मैले पनि व्यक्तिगत रुपमा र सामूहिक ढङ्गबाट राजनीतिक दलका नेताहरु, सामाजिक क्षेत्रका व्यक्तित्वहरुसँग छलफल गरेको छु । विभिन्न सञ्चारमाध्यमका सम्पादक एवं प्रतिनिधिहरूसँग पनि भेट गरी फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी गरिरहेकाले निर्वाचनको वातावरणका निम्ति भूमिका खेल्न आग्रह गरेको छु । निर्वाचनको माहोल बनाउन राजनीतिक दलहरू पनि जिम्मेवार भएर लाग्नुुपर्छ, त्यसको व्यवस्थापकीय पाटोमा सरकारले कुनै कसुर बाँकी राख्दैन । निर्वाचन सफल गराई मुलुकमा सुशासन प्रवद्र्धन, पुनर्निर्माण विकास गर्नु सरकारको मूल दायित्व रहेको छ । निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण ढङ्गले पूरा गर्न आवश्यक कानुन एवं नीति बनाई कार्यान्वयनमा ल्याउन सरकार सम्बद्ध सबै पक्षसँग आग्रह गर्दछ ।

निष्पक्ष र स्वतन्त्र निर्वाचनले मात्र सुशासन, स्थायित्व र विकास सम्भव बनाउँछ । फागुन २१ को निर्वाचन लोकतन्त्रको अभ्यास मात्र होइन, देशको समृद्ध भविष्यको ढोका पनि हो । यो दिन नागरिकहरूले आफ्नो अमूल्य मत प्रयोग गरेर सक्षम, इमानदार र जनमुखी नेतृत्व चयन गर्ने भएकाले यसलाई लोकतान्त्रिक पर्वका रूपमा मनाउनुपर्छ । यो दिन जनताको मतले देशको नेतृत्व निर्धारण गर्छ । विवेकपूर्ण र जिम्मेवार मत प्रयोगले सक्षम सरकार निर्माण हुन्छ र त्यसले देशलाई समृद्धिको मार्गमा अघि बढाउछ । त्यसैले, निर्वाचनमा सहभागी हुनु हरेक नागरिकको कर्तव्य हो र यसले लोकतन्त्रलाई अझ सबल बन्न सक्छ । सफल निर्वाचन हुनुले मात्र सरकार स्थिर र जिम्मेवार बन्छ, जसले देशमा सुशासन र विकासको मार्गप्रशस्त गर्छ । तोकिएको मितिमा निर्वाचन सम्पन्न गरी राजनीतिक दलहरुलाई सत्ता हस्तान्तरण गर्ने कुरालाई सरकारले अर्जुनदृष्टिका रुपमा लिएर अगाडि बढिरहेको छ ।

  (प्रस्तुत विचार नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलसँग गरिएको कुराकानीमा आधारित)

दुर्गा प्रसाईं पक्राउ : सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने तयारी, उपत्यकामा कडा सुरक्षा

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक दुर्गा प्रसाईं सोमबार मध्यराति भक्तपुरस्थित आफ्नो निवासबाट पक्राउ परेपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरी म्याद लिने तयारी प्रहरीले अघि बढाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रसाईंले हालै दिएका अभिव्यक्तिहरूले सार्वजनिक शान्ति भंग हुने संकेत देखिएकाले त्यसै आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको हो । ‘अभिव्यक्ति स्वतन्त्रताको नाममा दिनु भएका अभिव्यक्तिले सार्वजनिक शान्तिमा खलल पुर्‍याउने अवस्था देखियो’, उनले भने ।

प्रसाईंलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले मध्यराति समन्वय गरेर पक्राउ गरेको हो । उनलाई हाल परिसरकै भद्रकालीस्थित हिरासतमा राखिएको छ । प्रसाईं पक्राउ परेसँगै उनका समर्थक तथा ‘नागरिक बचाउ दल’ सक्रिय हुन सक्ने आंकलन प्रहरीले गरेको छ । दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले पक्राउ लगत्तै आजै उपत्यकामा प्रदर्शन गर्न सक्ने चेतावनी दिएपछि सुरक्षा व्यवस्थालाई एकदमै कडा पारिएको हो ।

रानिपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं, ललितपुर र भक्तपुर—तीनवटै जिल्ला प्रहरी परिसरलाई सडकदेखि संवेदनशील स्थानसम्म विशेष सतर्कता अपनाउन निर्देशन दिएको छ । त्यसअनुसार उपत्यकाका मुख्य चोक, सडक र प्रवेशद्वारमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ ।

प्रसाईंले यही मंसिर ७ गते देशव्यापी आन्दोलनको घोषणा गर्दै तयारी तीव्र पारेका थिए । तर आन्दोलन सुरू हुनु भन्दा अघि नै पक्राउ परेपछि अब आन्दोलन गर्ने भनी तय गरिएको योजनाको अवस्था अनिश्चित बनेको छ । प्रहरीले आजै अदालतमा पेश गरेर आवश्यक म्याद लिएर अनुसन्धान अघि बढाउने जनाएको छ । यस घटनाले उपत्यकाको सुरक्षा वातावरण तरङ्गित बनाएको छ भने प्रसाईंको टोलीले गर्ने भनिएको प्रदर्शनले अझै राजनीतिक वातावरण तनावपूर्ण बन्दै गएको देखिन्छ ।

तस्बिरमा हेर्नुहोस् कर्णाली र चितवनको प्रतिस्पर्धा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले टस जितेर फिल्ड रोजेको छ ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले फिल्ड रोजेपछि कर्णाली याक्सले सुरुमा ब्याटिङ गर्दैछ ।

चितवनविरुद्ध अहिले कर्णालीबाट म्याक्स ओडउड र प्रियांक पञ्चालले ब्याटिङ गरिरहेका छन् । कर्णालीले ३ ओभर खेल्दै २६ रन बनाइसकेको छ ।

अभिनेत्री साम्राज्ञीले गरिन् इन्गेजमेन्ट, जन्म दिनमा दिइन् ‘सरप्राइज’

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले इन्गेजमेन्ट गरेकी छिन् । उनले आफ्नो जन्मदिनको अवसरमा अवसरमा ‘सरप्राइज’ दिंदै इन्गेजमेन्ट गरेको जानकारी गराएकी हुन्। जीवन साथीको तस्बिर सार्वजनिक गरे पनि उनको बारेमा भने केही खुलाएकी छैनन् । उनले इन्स्टाग्राममा इन्गेजमेन्ट गरेको तस्बिर सार्वजनिक गर्दै प्रेमिल कविता लेखेकी छिन्।

यस्तो छ कविता
मैले प्रार्थना गरेको व्यक्तिका लागि
एक शान्त आत्मा जसले मेरो भाषा बोल्थ्यो
तिमीप्रति कृतज्ञ छु, जुन शब्दले कहिल्यै व्यक्त गर्ने छैन
एउटा जादु जब तिम्रा नयनले मेरा नयन भेट्छ

एक मौन वार्ता जसले यसलाई बोल्छ
मेरा यी हात कसिलो गरी समाइदियौ, नफुस्किने गरी फेरि
तिमीले सम्झाइदियौ, मलाई माया गर्न कति सजिलो छ
दयालु, प्रेमी र समझदार बनेर
मेरो मुटुमा बसी सधैँ र सदाका लागि मलाई साथ दियौ ।

पार्टीलाई फुटबाट बचाउने हो भने पुसभित्रै महाधिवेशन अनिवार्य : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५ औं महाधिवेशन आगामी पुसभित्रै गरिसक्नु पर्ने बताएका छन् । उनले केही नेताहरूले महाधिवेशन वैशाख वा सोभन्दा पनि ढिलो गर्ने अभिव्यक्ति दिएको प्रति असन्तुष्टि व्यक्त गर्दै पुसभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका हुन् ।

बिहान विशालनगरस्थित सम्पर्क कार्यालयमा ४० बढी युवाहरूसँगको कुराकानीमा कोइरालाले भने, ‘२०८२ मंसिरभित्रै महाधिवेशन हुनुप¥यो भन्ने कुरा मैले पहिलेदेखि नै भन्दै आएको हुँ । अहिले नियमित अधिवेशनको परिभाषा कोही वैशाख भन्छन्, कोही त्यसपछि पनि भन्छन् । मेरो कुरा अहिले पनि त्यही छ–मंसिरको सट्टा पुसभित्रै महाधिवेशन गरौं ।’

यदि पुस मसान्तभित्र १५ औं महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानुपर्ने उनको भनाइ छ । तर, विशेष महाधिवेशनमा जाँदा असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले बुझाएको हस्ताक्षर सनाखत गराएर भन्दा पनि केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेर जानु उपयुक्त हुने कोइरालाले बताए ।

‘पुसभित्रै नियमित महाधिवेशन हुन सकेन भने के गर्ने ? केन्द्रीय समितिबाट विशेष महाधिवेशनमा जाने निर्णय गर्ने । बहुमतका आधारमा होइन, केन्द्रीय समितिले सर्वसम्मत निर्णय गर्ने र विशेष अधिवेशनमा जाने,’ कोइरालाले भने, ‘यसो गरियो भने विवाद कम हुन्छ र पार्टीलाई फुटबाट बचाउँदै एकताबद्ध बनाउन सकिन्छ ।’

असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए । ती हस्ताक्षर सनाखत गराउन सुरु गरेमा पार्टी विभाजनमा जान सक्ने दाबी गर्दै कोइरालाले विवादरहित बनाउन केन्द्रीय समितिले नै विशेष महाधिवेशनमा जाने निर्णय लिनुपर्ने बताए । नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले कोइरालालाई उद्धृत गर्दै भने, ‘तपाईं युवाहरूले पार्टी विभाजन भएको देख्नुभएको छैन । मैले त आँखैअगाडि पार्टी विभाजन भएको देखेको छु, अहिले हस्ताक्षर सनाखत गराउन थाल्ने हो भने विभाजन हुन सक्छ, म पार्टी विभाजनको पक्षमा छैन ।’

मधेशमा एमाले–सात दल आमने–सामने : दुबै पक्ष धर्नामा, सर्वोच्चमा आज पेसी

जनकपुर । मधेश प्रदेशको राजनीति अहिले पटक तातिएको छ । नेकपा एमाले पनि ‘मुख्यमन्त्री सरोजकुमार यादवलाई काम गर्न देऊ’ भन्दै जनकपुरमा धर्नामा उत्रिएको छ । सात दलहरूले ‘अवैधानिक सरकार’ भन्दै प्रदेश सरकारको मुख्य ढोकामा नौं दिनदेखि घेराउ जारी राखेका छन् । प्रदेशको राजनीतिक टकराव अब सर्वोच्च अदालतको इजलासमा गाँसिएको छ, जहाँ आज पुनः सुनुवाइ हुँदैछ ।

आज (मंगलबार) जनकपुरको जनक मन्दिर परिसरमा एमालेका नेता–कार्यकर्ता धर्नामा बसेका छन् । उनीहरूको माग छ—मुख्यमन्त्रीलाई काम गर्न दिइयोस् र संविधानको रक्षा गरियोस् । सर्वोच्चले यसअघि दिएको अन्तरिम आदेशका कारण ‘सरकारलाई काम गर्न अवरोध पुगेको’ भन्दै एमाले कार्यकर्ता आक्रोश छन् । उता कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र, लोसपा, नेकपा (एस) लगायत सात दलहरूले जनकपुरस्थित मधेश भवनको मुख्य ढोकामै धर्ना कडाइका साथ निरन्तरता दिइरहेका छन् ।

उनीहरूको मुख्य आरोप–प्रदेश प्रमुखले एमाले सांसद सरोजकुमार यादवलाई होटलमै गएर मुख्यमन्त्री नियुक्ति गरे, बहुमत नपुगेको व्यक्तिलाई सरकार बनाइयो, सभामुखले दलीय अनुकूल निर्णय गर्दै संविधानको भावना तोडे । यसै आधारमा सात दलका ७४ सांसद सर्वोच्च अदालत पुगेका छन् र सरकार बदर गर्नुपर्ने माग दाबी गरेका छन् ।

मधेश प्रदेश सरकार गठनसम्बन्धी रिटको सुनुवाइ आज न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा पहिलो नम्बरमै तोकिएको छ । गत सोमबार समयाभावका कारण पेसी रोकिए पनि आज दुवै पक्षको विस्तृत बहस हुने अपेक्षा छ । सर्वोच्चले यसअघि मुख्यमन्त्री नियुक्ति गर्दा प्रयोग गरिएको सम्पूर्ण फाइल पेश गर्न आदेश गरिसकेको छ, तर सुनुवाइ पटक–पटक सरेको थियो । मंगलबार सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै मुख्यमन्त्री यादवलाई दीर्घकालीन निर्णय नगर्न भनेपछि विवाद झनै गहिरिएको छ ।
मधेश प्रदेशसभामा हाल कायम सदस्य संख्या १०४ छ । सरकार बनाउन आवश्यक बहुमत ५४ हो । तेस्रो विकल्प निस्कन कठिन देखिने अवस्थामै–एमाले २५ (सभामुखसहित), कांग्रेस २२, जसपा १९, जनमत १३, माओवादी ९, लोसपा ९, नेकपा (एस) ७, अन्य १–१ सांसद छन्।

यसमध्ये तीन सांसद (एमाले, जसपा र लोसपा) निलम्बनमा छन् । यही संख्यात्मक उल्झनकै बीच प्रदेश प्रमुखले एमालेका सरोजकुमार यादवलाई सरकार गठनको जिम्मा दिएपछि अहिलेको राजनीतिक विवाद सुरु भएको हो । एकातिर सत्तापक्ष ‘सरकारलाई काम गर्न नदिने शक्ति केन्द्र–विरुद्ध’ सडकमा छ भने, विपक्षी सात दलहरू ‘संवैधानिक उल्लंघनविरुद्ध’ मोर्चाबन्दीमा छन् । प्रदेशको मुख्य प्रशासनिक ढोका नै अवरुद्ध गरिएको अवस्थामा सामान्य प्रशासनिक काम समेत प्रभावित हुँदै गएको छ । सबैको नजर अब सर्वोच्च अदालतमा केन्द्रित छ—जहाँको निर्णयले मधेश प्रदेशको आगामी राजनीतिक अध्याय तय गर्नेछ ।

 

सुनको मूल्यमा व्यापक गिरावट, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको रू तीन हजार आठ सय र चाँदीको मूल्य तोलामा रू ६५ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू दुई लाख ३९ हजार ५०० र चाँदी प्रतितोला रू तीन हजार ९० मा खरिदबिक्री हुनेछ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रति औंस चार हजार १७ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।

अन्नपूर्णका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका दुई सय ३८ परिवारको पिउने पानी समस्या समाधान भएको छ । कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजले निर्माण गरेको अन्नपूर्ण–वाख्राङ–बाहुनगाउँ खानेपानी आयोजनाले यहाँको वर्षौँदेखिको समस्याको अन्त्य भएको हो ।

छवटा मुहानको पानी सङ्कलन गरेर बस्तीभरिका घरघरमा पुर्याइएको छ । आयोजनामा २६ हजार ९५ मिटर पाइप लाइन, १५ वटा सङ्कलन ट्याङ्की र नौवटा वितरण ट्यांकी निर्माण गरिएको जनाइएको छ । खानेपानी आयोजना सम्पन्न भएर घरघरमा पानी आउन थालेपछि दैनिक जीवन सहज बनेको स्थानीय राजबहादुर राईले बताए ।

आयोजनामा मूल्य अभिवृद्धि करसहित कुल दुई करोड १२ लाख एक हजार २१२ लागत लागेको वडाध्यक्ष पूर्णप्रसाद राईले जानकारी दिए । आयोजनामा ५२ लाख ६३ हजारबराबरको श्रमदान पनि गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले योजना सम्पन्न भएपछि यहाँका बासिन्दाको पुरानो समस्या अन्त्य भएको बताए । उनका अनुसार गाउँपालिकामा धेरै आवश्यकता भए पनि आन्तरिक स्रोत सीमित हुँदा सबै योजनालाई एकैपटक सम्बोधन गर्न कठिनाइ हुँदै आएको छ ।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि तथा सडक पूर्वाधारमा प्राथमिकता निर्धारण गरेर योजनाबद्ध रूपमा काम भइरहेको बताए । भौगोलिक विकटताका कारण कतिपय ठाउँमा काम गर्न चुनौती रहेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

आहा ! फुङ्फुङ्गे झरना

फुङ्लिङ । जिल्लाको मिक्वाखोला गाउँपालिका क्षेत्रमा रहेको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइमा पर्दै गएको छ । पछिल्लो समयका यातायातको सहज पहुँच पुग्न थालेसँगै पर्यटकहरूको गतिविधि बढ्न थालेको हो ।

पहाराको कापबाट झर्ने पानीको छाँगाले जोकोहीलाई मोहित पार्छ । झरना हेर्नका लागि देशका विभिन्न क्षेत्रबाट मानिस आउन थालेका स्थानीय तथा घरवास (होमस्टे) सञ्चालक विजय लिम्बूले बताए ।

उनका अनुसार फुङ्फुङ्गे झरनालाई प्रचारप्रसार गर्नका लागि मिक्वाखोला गाउँपालिकासँग सहकार्यमा गत वर्षदेखि फुङ्फुङ्गे झरना महत्सवको आयोजना गर्दै आएको छ ।

आगामी दिनमा झरनाको अझ प्रभावकारी प्रचारप्रसार गर्नका लागि विभिन्न सामाजिक सञ्जालमार्फत भिडियो, फोटो प्रतियोगितासमेत गर्ने योजना रहेको छ ।

यतिबेला स्वच्छ, सफा र आकर्षक झरनाले पर्यटकलाई आकर्षित गराएको छ । पछिल्लो समय प्रचारप्रसारसँगै फेसबुक, टिकटक, युट्युवजस्ता सामाजिक सञ्जालमा फुङ्फुङ्गे झरनासम्बन्धी तस्बिर तथा भिडियो पोष्ट हुन थालेपछि पर्यटक अझ आकर्षित भएका छन् ।

सरकारले १०० पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको फुङ्फुङ्गे झरनालाई जिल्लाको एक प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न निरन्तर पहल भइरहेका छन् ।

सङ्घ प्रदेश र स्थानीय सरकारले पर्यटन प्रवर्द्धनको योजनाअन्तर्गत विभिन्न संरचनासमेत निर्माणले पर्यटकको थप आकर्षण बढ्दै गएको झरनामा भ्रमण गर्न आएका सिरिजङ्घा गाउँपालिका कुमार माबोले जानकारी दिए ।

झरनाको सौन्दर्यीकरणका रूपमा पदमार्गको स्तरोन्नति, विश्रामलय निर्माणजस्ता क्रियाकलापले पर्यटकको उपस्थितिका लागि सहयोग पुगेको छ ।

अझ सडक मार्गमार्फत नै सदरमुकाम फुङ्लिङदेखि फुङ्फुङ्गे झरनास्थलसम्म पर्यटकको यात्रा सहज भएको छ । सङ्घीय सरकारबाट झरनाको सौन्दर्यीकरण योजनामा एक करोड रुपैयाँ बजेटसमेत खर्च भएको छ ।

झरनाबाट झरेको पानीको बाफमा नुवाउनेस्थल बनाएमा अझ राम्रो हुने आन्तरिक पर्यटक तथा सिरिजङ्घा गाउँपालिकाका स्थानीय खेलप्रसाद बुढाक्षेत्री (पराग)को भनाइ छ ।

उनका अनुसार यस क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकलाई स्थानीय उत्पादनका परिकारको स्वाद दिन सकेमा स्थानीय उत्पादनको बजारीकरणसँगै स्थानीयवासीले राम्रो आम्दानी लिनसक्ने बुढाक्षेत्रीले बताए ।

विगतका समयमा भन्दा अहिले यस क्षेत्र धेरै विकास भएको झरनाको अवलोकन गर्न पुगेकी फुङ्लिङ नगरपालिकाका सानुमाया लिम्बूले बताइन् ।

हाल झरना पुग्नलाई कच्ची सडक भए पनि सदरमुकाम फुङ्लिङदेखि बिहान गएर बेलुका फर्कन सकिन्छ । झरना क्षेत्रमा नै बस्न चाहने पर्यटकका लागि तेम्बा सामुदायिक होमस्टे (घरबास) सेवा सञ्चालनमा आएको छभने क्रमशः अन्य होटल पनि सञ्चालनमा ल्याउन सुरु गरिएको छ ।

झरना प्रचारप्रसार गर्न आउँदो मङ्सिर ७ देखि ११ गतेसम्म मेला सञ्चालन गर्ने जनाएको छ । मेलाकै अवसरमा अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, लघुउद्यमकृषि तथा मौलिक परम्परागत उत्पादनको प्रदर्शन गरिने समितिका अध्यक्ष विजय साँवाले बताए ।

उनका अनुसार पुरुष फुटबलतर्फको विजेतालाई रु तीन लाख दुई हजार ८२ र उपविजेतालाई एक लाख ५२ हजार ८२ रुपैयाँ बराबरको अलैँची प्रदान गरिनेछ ।

फाइनलको दिन बजारमा भएको चलनचल्तीको भाउअनुसार घोषणा गरिएको रकमबराबरको अलैँची तौलिएर प्रदान गरिने समितिले जनाएको छ । अलैँचीको प्रवर्द्धनका लागि पुरस्कारस्वरुप अलैँची नै प्रदान गर्न लागिएको अध्यक्ष लिम्बूको भनाइ छ ।

मेला सम्पन्न गर्न करिव १९ लाख बढी रकम खर्च हुने समितिका कोषाध्यक्ष तथा आर्थिक व्यवस्थापन उपसमितिका संयोजक सुकबहादुर साँवा लिम्बूले जानकारी दिए ।

स्थानीय क्षेत्रमा सञ्चालित जलविद्युत आयोजना, निर्माण व्यवसायी, स्वदेश तथा विदेशमा रहेका खेलप्रेमीबाट आर्थिक सहयोग सङ्कलन गरी मेला आयोजना गरिएको उनको भनाइ छ ।

चितवनविरुद्ध सुरुमा ब्याटिङ गर्दै कर्णाली

काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले टस जितेर फिल्ड रोजेको छ । त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले फिल्ड रोजेपछि कर्णाली याक्सले सुरुमा ब्याटिङ गर्दैछ ।

कर्णाली सोमपाल कामी र चितवन कुशल मल्लको कप्तानीमा मैदान उत्रँदै छन्।

एनपीएल दोस्रो संस्करणका सबै खेल त्रिवि मैदानमा हुनेछन् । यो संस्करणमा पनि पहिलोकै आठ टिम प्रतिस्पर्धामा छन् । जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किग्स, चितवन राइनोज, काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स भिड्नेछन् ।

प्रतिनिधि सभा पुनर्स्थापनामा दबाब बढाउँदै एमाले, विघटित दलको आज च्यासलमा बैठक

काठमाडौं । प्रतिनिधि सभाको विघटन असंवैधानिक रहेको दाबी गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) आज विघटित संसदीय दलको विस्तृत बैठक बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चालन हुने जनाइएको छ। दल स्रोतका अनुसार संसद् विघटनविरुद्ध पार्टीले प्रारम्भमै उठाएको विरोधलाई संस्थागत रूप दिन तथा पुनर्स्थापनाका लागि उत्पन्न संवैधानिक र कानुनी पक्षमा ठोस निर्णय लिन बैठक आह्वान गरिएको हो ।

विघटित प्रतिनिधि सभामा एमाले दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनको पृष्ठभूमि, त्यसप्रति पार्टीको धारणा र सम्भावित कानुनी कदमबारे सांसदहरूलाई विस्तृत जानकारी गराउने छन् ।

उनका अनुसार संसद् विघटनको संवैधानिक परीक्षण अझै बाँकी रहेकोले पार्टीका तर्फबाट दल वा व्यक्तिगत सांसदमार्फत सर्वोच्च अदालतमा जाने विकल्पलाई आजको बैठकले प्राथमिकताका साथ छलफल गर्नेछ । एमालेले विघटनलाई ‘असंवैधानिक कदम’ भन्दै प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने आफ्नो अडानलाई दृढ बनाउँदै आएको छ । आजको बैठकपछि अदालत जाने सम्बन्धमा औपचारिक निर्णय हुने अपेक्षा गरिएको छ ।

 

यसरी हुँदैछ चक्रपथ विस्तार {तस्वीरहरु}

काठमाडौं । चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तर्गत महाराजगञ्ज चप्पल कारखाना सडक विस्तारका सुस्त गतिमा चलेको छ । डिभिजन सडक कार्यालय मीनभवनले २०८१ फागुनमा एम–एस अम्बुजा–काली एसकेजेभीसँग २०८२ असार भित्र सक्ने गरी सम्झौता गरेको भए पनि काम सकिने छाँट देखिएको छैन ।

महाराजगञ्ज चोकदेखि चप्पल कारखाना सम्मको करिब ७ सय मिटर सो सडक सर्भिस लेन सहित १० लेनको बन्ने छ । अहिले सो सडक विस्तार अन्तर्गत कर्वस्टोन लगाउने, फुटपाथ निर्माण जस्ता लेबरले गर्नु पर्ने काम भई रहेको छ । निर्माण कम्पनीका एक प्रतिनिधिका अनुसार यही मङसिर महिनासम्म सडक कालोपत्रे गरिसक्ने उनले जानकारी दिएका छन् ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

मुग्लिन–पोखरा सडक १० दिन दैनिक चार घण्टा बन्द

काठमाडौं । मुग्लिन–पोखरा सडक आजदेखि १० दिनसम्म दैनिक चारघण्टा बन्द हुने भएको छ । मुग्लिन–पोखरा राजमार्ग सुधार योजना अन्तर्गत पश्चिम खण्ड दैनिक चार घण्टा बन्द गरेर सडक स्तरोन्नती गर्न लागिएको सडक आयोजनाले जनाएको छ । यो सडक आजदेखि १० दिनसम्म दैनिक चार घण्टा पूर्ण तथा आंशिक रूपमा बन्द गर्न लागिएको हो ।

आजदेखि दैनिक बिहान छ बजेदेखि आठ बजेसम्म र मध्याह्न १२ बजेदेखि दुई बजेसम्म सडकमा सवारी साधन रोकेर निर्माणको काम गर्न लागिएको योजना प्रमुख कृष्ण बहादुर कुँवरले जानकारी दिए । हाल मुग्लिन–पोखरा सडक खण्ड अन्तर्गत तनहुँको जामुने बजारदेखि पोखराको सेती नदी पुलसम्मको सडकमा स्तरोन्नतिको काम भइरहेको छ ।

पोखराको विजयपुर पुलको ‘अपस्ट्रिम साइड’ मा दुई लेनको ‘प्रिकास्ट’ र ‘प्रिस्ट्रेस’ प्रविधिको पुल निर्माणको लागि काम भइरहेको कुँवरले बताए । मूल सडक बन्द हुँदा दुई पाङ्ग्रे तथा साना सवारीसाधनले अर्घौचोक वा बुढी बजार चोकबाट बेल चौतारा हुँदै चाउथे भएर आवतजावत गर्न सक्नेछन् । ठूला सवारीसाधनको लागि भन् पावर हाउस चोकदेखि बौमारा हुँदै बिरौटा निस्किएर पोखरा आवतजावत गर्न पनि आयोजनाले अनुरोध गरेको छ ।
व्र गतिमा जारी छ । सोमबार साँझसम्म १२३ दल दर्ता भइसकेका छन् भने ३२ दलले प्रक्रिया पूरा गर्न बाँकी छ । आयोगले मंसिर १० गतेसम्म दर्ताका लागि समय तोकेको छ ।

प्रचण्ड–माधव नेपालले ‘बलमिच्याइँ’ गरेको भन्दै अदालत जाने सुवेदीको चेतावनी

काठमाडौं । नेपाली वाम राजनीति फेरि एकपछि अर्को नाम–विवादमा फसिरहेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष लोकनारायण सुवेदीले आफ्नो पार्टीको नाम नक्कल गरिएको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टीविरुद्ध सर्वोच्च अदालत जाने चेतावनी दिएका छन् ।

सुवेदी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पहिले नै निर्वाचन आयोगमा दर्ता भइसकेको छ । तर हालै १२ वाम दलको संयोजनमा बनेको नेपाली कम्युनिष्ट पार्टी नामक नयाँ दललाई पनि आयोगले दर्ता प्रमाणपत्र दिएपछि विवाद तीव्र बनेको हो । सुवेदीले आयोगलाई कात्तिक २६ गते नै नाम मिल्दोजुल्दो भएको उजुरी दिए पनि त्यसमा कुनै सुनुवाइ नगरी दर्ता मिलाइ दिएको दाबी गरेका छन् ।

उनका अनुसार ‘नेपाल’ र ‘नेपाली’ बीच ठूलो अर्थगत भिन्नता भए पनि दलको नाम–पहिचानमा यस्तो समानता कानुनी रूपमा स्वीकार्य नहुने तर्क गर्दै प्रचण्ड र नेपालको ‘बलमिच्याइँ’ विरुद्ध न्यायिक समाधान खोज्न बाध्य भएको बताएका छन् । ‘उजुरी टारेर आयोगले मेरो पार्टीकै नाम जस्तै अर्को दल दर्ता गरेको सुनेपछि अब अदालत नै जाने अर्को विकल्प छैन’, सुवेदीले बताए ।

उता, नयाँ दर्ता भएको नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिहरू भने नाम समान नरहेको दाबीमा अडिग छन् । उनीहरूका अनुसार सुवेदीको दल नेपाल कम्युनिष्ट पार्टी हो भने आफ्नो दल नेपाली कम्युनिष्ट पार्टी भएको कारण दुवैको परिचय छुट्टै छ । छोटकरी नाममा सुवेदी पक्षले ‘सीपीएन’ प्रयोग गरेको र आफूहरूले ‘एनसीपी’ प्रयोग गर्ने भएकाले झन भ्रम हुन नसक्ने उनीहरूको तर्क छ ।

नाम विवादबारे आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले कानुनविद् तथा भाषाविदहरूसँगको छलफलपछि दर्ता प्रक्रिया अघि बढाइएको बताए । ‘नेपाल र नेपाली बीच स्पष्ट अर्थगत भिन्नता हुने भएकाले दलहरूको नाम उस्तै ठहरिँदैन’, भण्डारीले स्पष्ट पारे । साथै, आयोगमा पहिले दर्ता भएको कम्युनिष्ट पार्टी अफ नेपाल र अहिले दर्ता भएको नेपाली कम्युनिष्ट पार्टीबीच पनि पहिचान फरक भएको बताइएको छ ।

यसअघि २०७५ साल जेठ ३ गते माओवादी केन्द्र र एमाले एकीकृत भएर बनेको नेपाल कम्युनिष्ट पार्टीको नामविरुद्ध ऋषि कट्टेलले सर्वोच्चमा मुद्दा हालेका थिए । सोही मुद्दामा सर्वोच्च अदालतले २०७७ फागुन २३ गते माओवादी–एमाले मिलेर बनाएको नयाँ नेकपा को नाम रद्द गरिदिएको थियो । अहिले फेरि उस्तै पात्र र उस्तै स्वरूपको नाम–विवाद सतहमा आएको छ ।

आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्य र फागुन ११ गते प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनलाई लक्षित गर्दै दल दर्ता प्रक्रिया तीव्र गतिमा जारी छ । सोमबार साँझसम्म १२३ दल दर्ता भइसकेका छन् भने ३२ दलले प्रक्रिया पूरा गर्न बाँकी छ । आयोगले मंसिर १० गतेसम्म दर्ताका लागि समय तोकेको छ ।

प्रसाईं पक्राउपछि ‘नागरिक बचाउ दल’ आन्दोलित : आजै सडकमा उत्रिने घोषणा

काठमाडौँ । राष्ट्रियता र नागरिकका मुद्दा उठाउँदै आएका दुर्गा प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएपछि उनको समर्थनमा रहेर सक्रिय ‘नागरिक बचाउ दल’ आजैदेखि देशव्यापी आन्दोलनमा उत्रिने भएको छ ।

मंसिर ७ गतेदेखि विरोध कार्यक्रम सुरु गर्ने पहिलेको योजना परिमार्जन गर्दै सरकारले प्रसाईलाई ‘अपहरण शैलीमा’ पक्राउ गरेको आरोप लगाउँदै दलले तत्काल संघर्ष थाल्ने घोषणा गरेको हो । महामन्त्री प्रेमकुमार थाम्सुहाङका अनुसार सरकारकै कदमले शान्ति भंग भएकाले अब आन्दोलन नटारिने बताए । आज पहिलो चरणमा जिल्लास्तरीय प्रशासन कार्यालयहरूमा ध्यानाकर्षणपत्र बुझाइने छ । उनीहरूले प्रसाईंको तत्काल तथा सम्मानपूर्वक रिहाइको माग गर्दै सरकारलाई सडकबाट चुनौती दिने चेतावनी दिएका छन् ।

यसैबीच, गृह मन्त्रालयले आइतबार राखेको सुरक्षा समिति बैठकमै प्रसाईंको अभिव्यक्तिले हिंसा र त्रास बढाउन सक्ने भन्दै आवश्यक कारबाहीबारे छलफल गरेको स्रोत बताउँछ । सुरक्षा निकाय प्रमुखहरूले हालैका उनका ‘बम विष्फोट सम्भावना र देश ठप्प पार्ने’ जस्ता वक्तव्यलाई संवेदनशील ठानी कडाइका साथ निगरानी र नियन्त्रण आवश्यक रहेको निष्कर्ष निकालेका थिए ।

प्रसाईंलाई पक्राउ परेसँगै काठमाडौँ उपत्यकामा सम्भावित विरोध गतिविधि रोक्न प्रहरी प्रशासन सतर्क बनेको छ । मातहतका युनिटहरूलाई रातिदेखि नै सर्कुलर जारी गरिएको बताइएको छ । पक्राउपछि उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ र आज सरकारी वकिलसँगको सल्लाहपछि म्याद थप प्रक्रिया अघि बढाइने तयारी छ ।

प्रसाईंले ७ मंसिरदेखि सुरु हुने भनिएको आन्दोलनका लागि २६ बुँदे मागसहित गृह मन्त्रालयमा ज्ञापन बुझाइका थिए । आन्दोलन शान्तिपूर्ण हुने दाबी गरे पनि निरन्तर ‘भड्काउ शैली’ को अभिव्यक्ति आएको भन्दै प्रहरीले मध्यराति उनलाई नियन्त्रणमा लिएको हो ।

आफैले बनाएको प्रधानमन्त्रीसँग किन भेटिएनन् बालेन ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार काठमाडौँ उपत्यकाका मेयरहरूलाई बालुवाटार बोलाएर समस्यामाथि खुला संवाद गरिरहँदा, सबैको ध्यान एकै कुरामा अडियो—उपत्यकाका सबै स्थानीय तहका प्रमुख उपस्थित थिए, तर काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) भने देखिएनन् ।

उपस्थित एक मेयरका अनुसार प्रधानमन्त्री कार्कीले छलफलको सुरुमै बालेनलाई लिएर गुनासो उठाइन्, ‘उनी किन आएनन् ?’ यति मात्र होइन, उनले बालेनको ‘भिन्न स्वभाव’ बारे टिप्पणी गर्दै भनिन्, ‘उसले हाम्रा कुरा सुन्दैन, आफ्नै कुरा मात्र भन्छ ।’

जेनजी आन्दोलनमा निर्णायक भूमिका खेलेका मेयर बालेनले ओली र लेखकलाई पक्राउ गर्न दबाब दिँदै आक्रामक रूपमा सरकारमाथि दबाव बढाइरहेका छन् । तर सरकारले भने चुनावको वातावरण बनाउन दलहरूसँग संवादमै ध्यान दिन थालेपछि बालेन असन्तुष्ट बनेको उनीहरूकै टीम भित्रबाट बताइन्छ ।

केही दिनअघि बालेन पक्षबाट गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागिएको थियो । प्रधानमन्त्री कार्यालयले तत्कालै काउण्टर जवाफ दिंदै मन्त्री छनोट प्रधानमन्त्रीको अधिकार भएको स्पष्ट पार्‍यो । त्यसयता बालेन सरकारसँग ‘संवादविहीन’ अवस्थामा छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका सबै स्थानीय तहका प्रमुखहरूले बैठकमा चुनाव, सुरक्षा, फोहोर व्यवस्थापन, सडक निर्माणदेखि लिएर विद्युत् महसुलसम्मका समस्या राखे । प्रधानमन्त्री कार्कीले आफू निर्वाचनमा केन्द्रित रहेको बताउँदै ‘चुनाव मात्र गराऊ, अरु काम नगर भनिन्छ, तर तपाईहरूका समस्यामा जति सकिन्छ सहयोग गर्छु’ भनी प्रतिक्रिया दिइन् ।

काठमाडौँ महानगरका प्रमुख अनुपस्थित हुँदा फोहोर संकट, सडकबत्ती बक्यौता, काठमाडौंका विशिष्ट समस्याहरू उठ्नै नपाउने स्थिति बन्यो। उपस्थित मेयरहरूले भने संघीय सरकारले ३ करोडभन्दा कमका योजनाहरू कटौती गरेपछि विकास रोकिएको गुनासो पोख्दै, फोहोर–सडक–सुरक्षा तीनै क्षेत्रमा ‘बोल्ड डिसिजन’ गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

समाजको बिग्रँदो अवस्था र युवामा बढ्दै गएको वितृष्णाबारे बोल्दै प्रधानमन्त्रीले गत ३०–३५ वर्षको एकलौटी शासनले आजको असन्तोष ल्याएको स्वीकार गरिन् । उनले भनिन्, ‘समाज भाँचिएपछि बनाउने हामी नै हौं । कोही आएर सपारिदिन्छ भन्ने भ्रम नपालौं ।’

उपत्यकाका ३ जिल्लाका सबै मेयर उपस्थित रहँदा काठमाडौँका मेयर बालेनको कुर्सी भने खाली रह्यो । मुलुकमा चुनावी सरकारको तयारी तीव्र बन्दै गर्दा बालेनको सरकारी संयन्त्रप्रति असन्तुष्टि र संवादविहीनता अब खुला राजनीतिक सन्देश जस्तै बनिरहेको छ । तर सबैको मनमा अहिले एउटै प्रश्न उठिरहेको छ–देश बनाउने भन्दै उठेका बालेन, आफैले बनाएको प्रधानमन्त्री भेट्न किन गएनन् ?

आन्दोलनको तयारीमा रहेका दुर्गा प्रसाईं मध्यराति पक्राउ

काठमाडौँ । प्रहरीले दुर्गा प्रसाईलाई मध्यराति पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित निवासबाटै प्रसाईंलाई पक्राउ गरेको हो । उनले हिंसा भड्किने अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

उनी परिसरकै हिरासतमा छन् ।हाल उनलाई जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ । प्रहरीले उनलाई कुन कसुरमा कारबाही प्रक्रिया अगाडि बढाउने भन्नेबारे भने टुंगो लगाइसकेको छैन । मंगलबार सरकारी वकिलसँग सल्लाह गरी उनलाई म्याद थपका लागि अदालत उपस्थित गराइने छ ।

यसअघि २०८१ चैत १५ को हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशमा छुटेका थिए । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए ।

उनले मंसिर ७ गतेबाट आन्दोलनको तयारी गरेका थिए । यसका लागि प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानको ब्यानरमा राजनीतिक गतिविधि गर्दै आएका छन् । प्रहरीले काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर गरेको छ।

प्रसाईंका समर्थकले मंगलबार बिहानदेखि पक्राउको विरोधमा प्रदर्शन गर्नसक्ने अनुमान सुरक्षा सतर्कता अपनाउने तयारी गरेको हो । पछिल्लो समय उनले काठमाडौँ मेयर बालेन साहको घरमा आगो झोस्न, परिवारका सदस्यमाथि झम्टन निर्देशनात्मक अभिव्यक्ति दिएका थिए ।

हिजो दिउँसो मात्र प्रसाईंले सिहदरबार, सर्वोच्च अदालतमा कसरी आगो लाग्यो ? ७५ जनाको ज्यान कसरी गयो ? मल्ल होटल अगाडि गाडीभित्र बसेर क–कसको कुरा भएर प्रधानमन्त्री चुनियो ? बानेश्वरको कुन घरको छतमा बसेर जेनजी आन्दोलनको अप्रेशन गरिएको थियो ? भनेर विशेष भिडियो सार्वजनिक गरेका थिए । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनको योजनाकार भएको समेत आरोप लगाएका थिए । उनले मंसिर ७ गतेबाट आन्दोलनको तयारी गरेका थिए ।

एनपीएलको पहिलो खेलमा काठमाडौँ गोर्खाजको प्रभावशाली सुरुवात, जनकपुर पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को भव्य उदघाटनसँगै लिगको पहिलो खेल काठमाडौँ गोर्खाजले प्रभावशाली जित आफ्नो नाममा पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा काठमाडौँले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो । जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै भेट्टायो । काठमाडौँका शीर्ष–क्रमका ब्याटरले जिम्मेवारीपूर्ण प्रदर्शन गरे ।

बेन चाल्र्सवर्थ – ४६ रन

आकाश त्रिपाठी – ३९ रन

मिलिन्द कुमार – १९ रन

जोन सिम्पसन – १३ रन

मोहम्मद आदिल आलम – ८ रन

भीम सार्की – ३ रन
जनकपुरका पाँचै जना बलरले एक–एक विकेट लिए, जसमा अनिल साह, ललित राजवंशी, सञ्जय कृष्णमूर्ति, किशोर महतो र जान निकोल लफ्टी–इटोन रहेका छन् ।

पहिले ब्याटिङ गर्दै जनकपुर ६ विकेटमा १३० रन
लिगको उद्घाटन खेलमा जनकपुरले अपेक्षित ठूलो स्कोर बनाउन नसके पनि आसिफ शेख को उत्कृष्ट अर्धशतक टीमका लागि मुख्य आकर्षण बन्यो । आसिफले ४१ बलमा ५० रन, ६ चौका र १ छक्का प्रहार गरे । मयन यादवले ३४ रन, लाहिरु समरकूनले २२ रन, लाहिरु मिलन्थाले ७ रन, र रुपेश सिंहले ४ रन जोडे । काठमाडौँका बलरमध्ये मिलिन्द कुमार चम्किए, जसले ३ विकेट लिए । त्यस्तै करण केसी, शहाब आलम र सन्तोष यादवले एक–एक विकेट हात पारे ।
भोलि दुई रोमाञ्चक खेलहरू

मंगलबार एनपीएलमा दुई खेल हुनेछ
चितवन राइनोज बनाम कर्णाली याक्स — बिहान ११ः४५
विराटनगर किंग्स बनाम पोखरा एभेन्जर्स — अपराह्न ४ः००
उदघाटन खेलमै काठमाडौँ गोर्खाजले देखाएको सशक्त प्रदर्शनले यस वर्षको लिग रोमाञ्चक हुने संकेत दिएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रलाई सक्रिय बनाइने

काठमाडौं । भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानमा राष्ट्रिय सतर्कता केन्द्रलाई सक्रिय बनाइने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आज केन्द्रका सचिव सरजुकुमार वैद्यसँग छलफल गरेकी छन् ।

त्यसक्रममा उनले जेनजी आन्दोलनको मूल माग नै भ्रष्टाचारविरुद्धको कारबाही भएकाले त्यसमा सतर्कता केन्द्रले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताइन् । छलफलपछि उनले केन्द्रलाई चार बुँदे निर्देशन दिएकी छन् ।

प्रधानमन्त्रीको ४ बुँदे निर्देशन
– सार्वजनिक निकायहरुबाट हुने ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार सम्बन्धमा प्राप्त उजुरीका सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रको भूमिका थप प्रभावकारी बनाउनु पर्छ । भ्रष्टाचारपछिको दण्डात्मक उपायभन्दा भ्रष्टाचार हुनै नदिने वातावरण सिर्जना गर्नुपर्छ ।

– सार्वजनिक निकायहरुबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन र अनुगमनलाई बढावा दिनुपर्छ। केन्द्रका निर्देशन पालना भए–नभएको पनि अनुगमन गर्नुहोस् ।

–विकास–निर्माणका योजनाहरुमा गुणस्तरीयता कायम गरी तोकिएको समय, लागत र गुणस्तरीय काम सम्पन्न गर्ने तथा प्राविधिक परीक्षणको जिम्मेवारीमा सतर्कता केन्द्रको ध्यान पुगेन। यसको लागि जनशक्ति र वित्तीय स्रोतको समेत प्रबन्ध गर्नुहोस् ।

–आम नागरिकलाई अनुभूति हुने गरी संस्थाको उपस्थिति र प्रभावकारिता देखाउनुहोस् ।

एमाले नहुने निर्वाचनमा समय खेर फाल्दैन : शंकर पोखरेल

रुपन्देही । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले कहिल्यै पनि निर्वाचनबाट भाग्ने दल नभए पनि नहुने चुनावको पक्षमा प्रचार गरेर समय खर्च खेर नफाल्ने बताएका छन् । सोमबार रुपन्देहीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले वर्तमान अन्तरिम सरकार चुनाव गराउने उद्देश्यले नबनेको आरोप लगाए ।

पोखरेलका अनुसार सरकारका गतिविधि निर्वाचनअनुकूल नभएकाले निर्वाचन आयोग सक्रिय भएर मात्र चुनाव हुन नसक्ने अवस्था बनेको छ । ‘निर्वाचन आयोगले तयारी तिव्र पारे पनि सरकार निर्वाचनतर्फ उन्मुख छैन,’ उनले भने ।

पोखरेलले केही दलका नेताहरू जनआक्रोश, विशेषगरी जेनजी आन्दोलन नबढोस् भनेर मात्रै ‘चुनाव हुन्छ’ भन्ने नारामा सीमित रहेको टिप्पणी गरेका छन् । उनले भने, ‘एमाले कसैसँग डराउँदैन । हामी जनता माझ छौं, सडकमा छौं । स्पष्ट एजेण्डासहित अघि बढेको एक मात्र पार्टी एमाले हो ।’

उनीले एमाले प्रतिस्पर्धाबाट नभाग्ने, जनतासँगै रहेर राजनीतिक एजेण्डा अघि बढाउने धारणा दोहोर्‍याउँदै अन्तरिम सरकारको निष्क्रियताका कारण चुनावको सम्भावना कमजोर रहेको निष्कर्ष प्रस्तुत गरे ।

राजासहितको सर्वपक्षीय सम्मेलन गरौं : अध्यक्ष लिङदेन

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले देशमा उत्पन्न राजनीतिक जटिलताबाट बाहिर निस्कन राजासहितको ‘सर्वपक्षीय सम्मेलन’ अपरिहार्य भएको बताएका छन् । सोमबार पोखरा नगर अधिवेशनको उद्घाटन सत्रमा राप्रपा अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।

लिङदेनले राप्रपाले राष्ट्रिय पहिचान, आर्थिक स्थिरता र सुशासनलाई प्राथमिकतामा राख्दै स्थानीय तहदेखि केन्द्रसम्म जिम्मेवार विपक्षीको भूमिका निर्वाह गर्ने बताए । देश अहिले गहिरो अनिश्चयमा रहेको हुँदा राजा, जेनजी समूह र राजनीतिक दलहरू एउटै टेबुलमा बसेर राष्ट्रको हितका लागि साझा मार्गचित्र बनाउनुपर्ने आवाज राप्रपा नेताहरूले चर्को रूपमा उठाए ।

अहिले गठन भएको अन्तरिम सरकारलाई चेतावनी दिँदै राजा, जेनजी समूह र सबै राजनीतिक दलहरूलाई समेटेर सर्वदलीय सम्मेलन आयोजना गर्न लिङदेनले आग्रह गरे । उनका अनुसार, राज्य शक्तिहरूबीच आपसी अविश्वास बढ्दै गएको र राजनीतिक नेतृत्वबाट समाधान आउने आशा कमजोर बन्दै गएको अवस्थामा राष्ट्रलाई स्थायित्व दिने एक मात्र उपाय सबै पक्ष बीचको खुला संवाद र सहमति रहेको स्पष्ट पारे ।

ओलीले बनाइ दिएको क्रिकेट रङ्गशाला कुलमानले जुँगा मुसार्दै उदघाटन गर्नु भयो : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको उदघाटनलाई लिएर शहरी विकासमन्त्री कुलमान घिसिङमाथि कटाक्ष गरेका छन् । राष्ट्रिय युवा संघ नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै बस्नेतले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा निर्माण सुरु भएको रङ्गशाला घिसिङले ‘जुँगा मुसार्दै’ उदघाटन गरेको टिप्पणी गरे ।

बस्नेतका अनुसार ओली प्रधानमन्त्री बनेपछि पहिलो निर्णय नै क्रिकेट रंगशाला निर्माण गर्ने रहेको थियो । तीव्र गतिमा निर्माण अघि बढाए पनि निर्धारित समयभन्दा केही ढिलाइ भएको उनले स्वीकारे । तर रङ्गशाला निर्माण ‘ओलीको नेतृत्वमा सम्भव भएको’ भन्दै बस्नेतले उदघाटनको श्रेय घिसिङले लिन खोजेको आरोप लगाए ।

उनका अनुसार आइतबार सम्पन्न उदघाटन कार्यक्रममा क्रिकेट संघका पदाधिकारी—अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का समेत—नैतिक हिसाबले असहज हुनेगरी वक्तव्य दिन बाध्य भएका थिए । बस्नेतले भने, ‘सामाजिक सञ्जालमा आफूलाई ‘हिरो’ देखाउन चाहने कुलमानले ओलीले बनाइदिएको रङ्गशाला उदघाटन गर्दा व्यङ्ग्य नै उत्पन्न भयो ।’

बस्नेतले सोमबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) नेपाल क्रिकेटको जगतमा ‘महत्वपूर्ण मोड’ भएको बताए । विगतमा कीर्तिपुरमा क्रिकेट हेर्न दर्शकले रुखको हाँगामा चढ्नुपर्ने बाध्यता अन्त्य भएर अब व्यवस्थित सुविधासहित खेल हेर्न पाउने अवस्था बनेको उनले उल्लेख गरे । उनले भने, ‘चार–पाँच वर्षअघि क्रिकेट हेर्न जाँदा कतिबेला हाँगो भाँचेला भन्ने चिन्ता हुन्थ्यो । अब त्यस्तो अव्यवस्था छैन, यसको श्रेय ओली ज्यूको निर्णयलाई जान्छ ।’

बस्नेतले केही साहित्यकारले ‘ओलीले सुरु गरेका काम सबै भत्काइदेऊ’ भन्दै व्यङ्ग्य कविता लेखेको उदाहरण समेत प्रस्तुत गरे । धरहरा पुनर्निर्माणदेखि रानीपोखरी, सुरुङमार्गलगायतका परियोजना ओलीकै कार्यकालमा अघि बढेको दाबी उनले दोहोर्‍याए । ओलीको राजनीतिक उचाइ कम गर्न विदेशी शक्तिहरूले लगानी गरेको आरोप पनि उनले राखे । कार्यक्रमभर बस्नेतले ओली नेतृत्वको विकासगत भूमिका दोहोर्‍याउँदै विभिन्न परियोजना ‘ओली सम्झनासँग जोडिने’ दाबी गरे ।

काठमाडौं गोर्खाजको शानदार सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्ससँगको खेलमा काठमाडौँ गोर्खाजले शानदार सुरुवात गरेको छ ।जनकपुरले दिएको १३१ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले सात ओभरमा ६४ रन बनाएको छ । काठमाडौँका लागि वेन चाल्र्सवर्थले ४५ र आकाश त्रिपाठी २१ रनमा अविजित छन् ।

यसअघि ब्याटिङ गरेको जनकपुरले ६ विकेटको क्षतिमा १३० रन बनाएको थियो । जनकपुरका लागि आसिफ शेखले ५४, मयन यादवले ३४, लाहिरु समरकूनले २२, लाहिरु मिलन्थाले सात, रुपेश सिंहले चार, जान निकोल लफ्टी–इटोन र सञ्जय कृषिमूर्तिले दुई–दुई विकेट लिए । काठमाडौँका लागि मिलिन्द कुमारले तीन, करण केसी, शहाब आलम र सन्तोष यादवले एक–एक विकेट लिए ।

 

प्रतिनिधिसभा पुनर्स्थापनाबारे कांग्रेस–एमालेको सभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना र आगामी निर्वाचनसम्बन्धी अनिश्चितता बढ्दै गएको अवस्थामा नेपाली कांग्रेस र नेकपा (एमाले) का सचेतकहरूले सभामुख देवराज घिमिरेसँग अनौपचारिक भेटघाट गरी राजनीतिक विकल्पबारे विस्तृत कुराकानी गरेका छन् ।

आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौलाले भेट गरेका हुन् । कांग्रेस सचेतक घिमिरेका अनुसार ‘चिया–कफी भेट’ भनिए पनि वार्ताको केन्द्रबिन्दु हालै विघटित प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी विषय नै रह्यो ।

कांग्रेसका प्रमुख सचेतक घिमिरेले आफू प्रतिनिधिसभा पुनर्स्थापनाको स्पष्ट पक्षमा रहेको दोहोर्‍याएका छन् । घिमिरेले भने, ‘निर्वाचनमा जानैपर्छ भने पनि संविधान संशोधन आवश्यक छ, त्यसका लागि संसद् पुनर्स्थापना हुनैपर्छ ।’ उनले पुनर्स्थापनाका लागि दलभित्रबाटै दबाब बढिरहेको बताउँदै, कांग्रेसका ४६ र एमालेका ३२ पूर्व सांसदको हस्ताक्षर संकलन भइसकेको जानकारी दिए ।

२७ भदौमा प्रतिनिधिसभा विघटन भएपछि फागुन २१ मा चुनावरुपी मिति तोकिएको छ । निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ र ६ माघमा उम्मेदवारी दर्ता हुने कार्यसूची पारित गरिसकेको छ । यसैबीच, दल दर्ताका लागि आजदेखि १० मंसिरसम्मको समय सीमा तय गरिएको छ । पहिलो दिन नै रास्वपा, नेमकिपालगायत दलहरूले आयोगमा निवेदन दर्ता गरिसकेका छन् ।

तर प्रमुख दुई ठूला पार्टी कांग्रेस र एमालेभित्र पनि निर्वाचन वा पुनस्र्थापना— कुन मार्ग उचित भन्नेबारे आन्तरिक बहस तीव्र छ । कांग्रेस केन्द्रीय समितिले यसबारे औपचारिक निर्णय गर्न सकेको छैन भने एमालेले विघटनलाई असंवैधानिक भनी पुनर्स्थापनातर्फ झनै दृढ देखिएको छ।

राजनीतिक वातावरण झनै जटिल बन्दै गएपछि एमालेले मंगलबार दिउँसो १ बजे च्यासलस्थित पार्टी कार्यालयमा विघटित प्रतिनिधिसभा संसदीय दलको बैठक बोलाएको छ । बैठकमा ‘देशमा उत्पन्न असामान्य परिस्थिति र यसको लोकतान्त्रिक–संवैधानिक समाधान’ विषयमा विस्तृत छलफल हुने जनाइएको छ ।

एकातिर निर्वाचन आयोग तयारी मोडमा छ भने अर्कोतिर प्रमुख दलहरूले नै प्रतिनिधिसभा पुनर्स्थापना विकल्पलाई खुला राखेका छन् । सभामुखसँग भएको कांग्रेस–एमालेको समन्वित कुराकानीले राजधानीको राजनीतिक प्रभावक्षेत्रमा नयाँ तरंग ल्याएको छ । अब संसद् पुनर्स्थापना तर्फ राजनीतिक सहमति बन्दै जाने हो कि निर्धारित मितिमै निर्वाचन प्रक्रिया अघि बढ्छ–केही दिनभित्रै दलहरूको औपचारिक निर्णयले देशको राजनीतिक मार्गचित्र स्पष्ट पार्ने आँकलन गरिँदैछ ।

जेन–जेडको उभारसँगै ‘वन पिस’को स्ट्राह्याट झण्डा मेक्सिकन प्रतिरोधको प्रतीक

मेक्सिको सिटी । मेक्सिकोमा बढ्दो अपराध, भ्रष्टाचार र दण्डहीनताविरुद्ध जेन–जेडले नेतृत्व गरेको आन्दोलन तातेसँगै राजधानीका सडकहरूमा एउटा अनौठो तर शक्तिशाली प्रतीक देखिन थाल्यो—परालको टोपी लगाएको खोपडी अङ्कित ‘वन पिस’ मङ्गा झण्डा । प्रारम्भमा कार्टुन झण्डा र राजनीतिक आन्दोलनबीचको मेल अस्वाभाविक लागे पनि युवाहरूका लागि यो प्रतीकले गहिरो अर्थ बोकेको मानिन्छ ।

अल जजिराका अनुसार लोकप्रिय सांस्कृतिक पात्रहरूको प्रयोग प्रदर्शनकारीहरूले साझा मूल्य, विद्रोह र न्यायको चाहनालाई व्यक्त गर्ने माध्यम बन्न थालेको छ । विश्वभर जेन–जेड आन्दोलनमा प्रयोग हुँदै आएको समुद्री डाकू शैलीको यो खोपडी झण्डा अहिले मेक्सिकन प्रतिरोधको पहिचानजस्तै बनेको छ ।

मेक्सिको सिटीमा राष्ट्रपति क्लाउडिया सेनबाम बस्ने राष्ट्रिय दरबार वरिपरि हुड लगाएका प्रदर्शनकारीहरूले पर्खाल भत्काएपछि अवस्था तनावग्रस्त बन्यो । दङ्गा नियन्त्रण प्रहरीसँग प्रदर्शनकारीहरूको भिडन्त हुँदा सुरक्षाकर्मीहरूले अश्रुग्यास प्रयोग गरेका थिए ।

मेक्सिको सिटीका सार्वजनिक सुरक्षा सचिव पाब्लो भाजक्वेजका अनुसार झडपमा करिब १०० जना प्रहरी घाइते भएका छन्, जसमा ४० जनालाई अस्पताल उपचार आवश्यक परेको छ । साथै २० जना सर्वसाधारण पनि घाइते भएको जानकारी उहाँले स्थानीय मिडिया मिलेनियोलाई दिएका छन् ।

सुरक्षा सचिवले २० जनालाई पक्राउ गरिएको र अन्य २० जनालाई ‘प्रशासनिक अपराधका लागि सूचीकृत’ गरिएको बताएका छन् ।

– ‘वन पिस’ झण्डाको प्रतीकात्मक शक्ति –

यो झण्डा जापानी मङ्गा वन पिसका सर्जक इसिचिरो ओडाले सन् १९९७ मा सिर्जना गरेको कथाबाट आएको हो । कथा समुद्री डाकू कप्तान मङ्की डी। लुफी र उनको ‘स्ट्राह्याट’ टोलीको साहसिक यात्रामा केन्द्रित छ । स्ट्रा टोपीसहित मुस्कुराइरहेको खोपडी अङ्कित जोली रोजर झण्डालाई उनीहरूको स्वतन्त्रता, विद्रोह र स्वतःसिद्ध न्यायको प्रतीक मानिन्छ ।

प्रशंसक्हरूको दृष्टिमा यो झण्डा लुफीको सपनाको खोज, उत्पीडितको मुक्ति र निरङ्कुश शक्ति संरचनाविरुद्धको सङ्घर्षको प्रतिनिधि हो । लुफीको निडरता, असाधारण दृढता र कठिनाइलाई ‘रबरझैँ’ मोडेर पार गर्ने क्षमता युवाहरूलाई प्रेरणादायी लाग्छ ।

– विश्वव्यापी युवाआन्दोलनमा ‘वन पिस’को प्रभाव –

वास्तविक संसारमा पनि लुफीको झण्डाले भौगोलिक सीमा, भाषा र राजनीतिक सन्दर्भ पार गर्दै विश्वका युवाहरूलाई जोड्ने प्रतीकको रूप लिएको छ । सिएनएनका अनुसार इन्डोनेसिया, फिलिपिन्स, नेपालदेखि पेरिसका सडकसम्म यस झण्डाले राजनीतिक अभिव्यक्ति, असहयोग र प्रतिरोधको नयाँ पहिचान बनाइसकेको छ ।

मेक्सिकोमा यस प्रतीकको उदयले जेन–जेड आन्दोलनको स्वरूपलाई झनै स्पष्ट पारेको छ—युवाहरू केवल असन्तुष्ट मात्र होइनन्, उनीहरू सांस्कृतिक पहिचान, लोकप्रिय प्रतीक र डिजिटल युगको भाषा प्रयोग गरेर राज्यसत्ता र व्यवस्था–विरुद्धको सङ्घर्षलाई नयाँ रूप दिइरहेका छन् ।

न्यूजिल्याण्डमा वार्षिक खाद्य मूल्य ४.७ प्रतिशतले बढ्यो

वेलिङ्टन । न्यूजिल्याण्डमा अक्टोबर सन् २०२५ सम्म वार्षिक खाद्य मूल्य ४.७ प्रतिशतले बढेको छ, जुन सेप्टेम्बर २०२५ को ४.१ प्रतिशतभन्दा बढी रहेको राष्ट्रिय तथ्यांक विभागले सोमबार जनाएको छ ।

आङ्कडाका अनुसार, खाद्य मूल्य वृद्धिमा किराना सामग्री समूह प्रमुख रहेको छ, जसको मूल्य ४.९ प्रतिशतले बढेको छ । त्यस्तै, मासु, कुखुरा र माछाको मूल्य ७.६ प्रतिशतले वृद्धि भएको छ । दूध १३.५ प्रतिशत, तत्काल पिउन मिल्ने कफी २५.५ प्रतिशत, चीज ३०.१ प्रतिशत र ताजा अण्डा १८.५ प्रतिशतले महँगो भएको तथ्याङ्कमा उल्लेख छ ।

“बिहानको खाजामा अण्डा र कफी सेवन गर्नेहरूले यी वस्तुहरू महँगो भएको महसुस गर्न सक्नेछन्,” राष्ट्रिय तथ्याङ्क विभागका मूल्य विश्लेषक निकोल ग्रोडेनले बताउनुभयो ।
वार्षिक मूल्य वृद्धिका बावजुद, अक्टोबर महिनामा सेप्टेम्बरको तुलनामा खाद्य सामग्रीको मूल्य ०.३ प्रतिशतले घटेको छ । यसको मुख्य कारण तरकारीको मूल्य १०.७ प्रतिशतले घट्नु हो, जुन नवेम्बर सन् २०२१ पछि सबैभन्दा ठूलो मासिक गिरावट हो ।

त्यस्तै, बिजुली र ग्यासको मूल्य पनि बढ्दै गएको छ । अक्टोबर सन् २०२५ सम्म १२ महिनामा बिजुली ११.८ प्रतिशत र ग्यास १४.४ प्रतिशतले वृद्धि भएको छ । मासिक रूपमा बिजुलीको मूल्य ०.५ प्रतिशत र ग्यासको मूल्य १.९ प्रतिशतले बढेको देखिएको छ । यसरी दुबै साधनको मूल्य लगातार ११ महिनादेखि बढ्दै गएको राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ ।

यस मूल्य वृद्धिले सामान्य नागरिकको दैनिक जीवनमा असर पु¥याएको छ । विशेष गरी दूध, अण्डा, कफी र चीजको मूल्य वृद्धिले खानपिनका वस्तुहरू महँगो भएको महसुस गराएको छ ।

एपस्टिन काण्डसम्बन्धी फाइल सार्वजनिकमा ट्रम्पको ‘यू–टर्न’, हाउस भोटलाई समर्थन

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित थप कागजातहरू सार्वजनिक गर्न सांसदहरूले अघि बढाएको प्रयासलाई समर्थन जनाएको छ । यसअघि उनले यस्तो कदमको विरोध गर्दै आएका थिए ।

राष्ट्रपति ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा लेख्दै भन्छन्, “हाउस रिपब्लिकनहरूले एपस्टिन फाइलहरू सार्वजनिक गर्न मतदान गर्नुपर्छ, किनकि हामीसँग लुकाउन केही छैन ।”

७९ वर्षीय राष्ट्रपति ट्रम्पले डेमोक्रेटहरूले ‘एपस्टिन होक्स’ फैलाइरहेको आरोप लगाउँदै हालै सार्वजनिक भएका केही इमेलहरूले आफू ‘केटीहरू सम्बन्धी विषयमा जानकार थिएँ’ भन्ने भ्रामक सङ्केत दिएको दाबी गरेका छन् ।

यी इमेलहरू सार्वजनिक भएपछि केही आलोचकहरूले राष्ट्रपति ट्रम्पले सम्भावित दोषसूचक कुराहरू लुकाउने उद्देश्यले फाइल सार्वजनिक रोक्न खोजेको आरोप लगाएका थिए । तर राष्ट्रपतिले यस्ता सबै आरोप अस्वीकार गरेका छन् ।

यो मुद्दाले उनको पार्टीभित्रै विभाजन ल्याएको छ, विशेषतः ट्रम्प र उनको मेक अमेरिका ग्रेट अगेन ९एमएजिए० आन्दोलनभित्रका नजिकका सहयोगीहरूबीच । सप्ताहन्तमा राष्ट्रपति ट्रम्पले एमएजिएसम्बद्ध सांसद मार्जोरी टेलर ग्रीनको सन् २०२६ पुनः चुनाव अभियानप्रति आफ्नो समर्थन फिर्ता लिएका छन् ।

रिपब्लिकन सभामुख माइक जोनसनले यसै हप्ता न्याय मन्त्रालयलाई बाँकी एपस्टिन फाइलहरू सार्वजनिक गर्न बाध्य पार्ने प्रस्तावमा मतदान गरिने बताएका छन् । ट्रम्पले उक्त सन्दर्भमा लेख्छन् , “हाम्रा केही रिपब्लिकन सदस्यहरू प्रयोग भइरहेका छन् र हामी यस्तो हुन दिन सक्दैनौँ ।”

– न्याय मन्त्रालय र एफबिआईको भूमिका –

गत हप्ता अमेरिकी इतिहासकै सबैभन्दा लामो सरकारी ‘शटडाउन’ समाप्त भएपछि प्रतिनिधि सभाले एपस्टिनको सम्पत्तिबाट प्राप्त इमेलहरूको ठूलो सङ्कलन सार्वजनिक गरेको थियो ।

एक इमेलमा एपस्टिनले लेखेका थिए कि राष्ट्रपति ट्रम्पले पीडितमध्ये एक युवतीसँग आफ्नो घरमा ‘घण्टौँ बिताएको’ उल्लेख छ । अर्को सन्देशमा उनले ट्रम्पलाई ‘फोहरी’ भनेर सम्बोधन गरेका थिए ।

हाउस ओभरसाइट कमिटीका डेमोक्रेट सदस्यहरूले यस्ता इमेलहरूले ‘डोनाल्ड ट्रम्पको एपस्टिनका अपराधबारे रहेको सम्भावित जानकारी’ बारे गम्भीर प्रश्न उठाएको बताएका छन् ।

यी फाइलहरू सार्वजनिक भएपछि राष्ट्रपति ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डी, एफबिआई तथा न्याय मन्त्रालयलाई एपस्टिन र डेमोक्रेट पूर्व राष्ट्रपति बिल क्लिन्टन तथा क्लिन्टनका अर्थमन्त्रीका रूपमा काम गरेका पूर्व हार्वर्ड अध्यक्ष ल्यारी समर्सबीचको सम्बन्धबारे जाँच गर्न आग्रह गरेका छन् ।

तर एफबिआई र न्याय मन्त्रालयले गत जुलाईमा सार्वजनिक गरेको मेमोमा एपस्टिन मामिलामा ‘अन्य व्यक्तिलाई अभियोग चलाउन पर्याप्त प्रमाण नभएको’ उल्लेख गर्दै थप अनुसन्धानको आवश्यकता नरहेको बताएका थिए ।

– एपस्टिन प्रकरणको पृष्ठभूमि –

भर्तीकर्ता घिस्लेन म्याक्सवेलको सहयोगमा एपस्टिनले न्युयोर्क र फ्लोरिडास्थित निवासहरूमा सयौँ कम उमेरका किशोरीहरूलाई ‘मसाज’ का नाममा लैजाने र यौन दुव्र्यवहार गर्ने गरेको प्रमाणित भइसकेको छ ।

सन् २०१९ मा यौन तस्करीका मुद्दामा अदालतको पर्खाइमा रहेका बेला एपस्टिन जेलमै मृत फेला परेका थिए । उनलाई फ्लोरिडामा यौन अपराधीको रूपमा दर्ता गरिनुपर्ने थियो ।

एफबिआई र न्याय मन्त्रालयले सन् २०१९ मा नै एपस्टिनले आत्महत्या गरेको, ‘ग्राहक सूची’ नराखेको र उच्च पदस्थ व्यक्तिहरूलाई ब्ल्याकमेल नगरेको प्रतिवेदनमार्फत स्पष्ट गरिसकेका भए पनि ट्रम्प समर्थक षड्यन्त्रवादी समूहहरूले वर्षौंदेखि यो मुद्दालाई राजनीतिक रूपमा जोडेर राख्दै आएका छन् ।

जनकपुरले काठमाडौं गोर्खाजलाई दियो १३१ रनको लक्ष्य

काठमाडौँ । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनायो ।

जनकपुरका लागि ओपनर आसिफ शेखले अर्थशतक पूरा गरे । उनले ४१ बलमा ५४ रन बनाए ।

ओपनर लाहिरु मिलान्था ७, कप्तान अनिलकुमार शाह ०, जान निकोल लोफ्टी इन्टोन २, सञ्जय कृष्णमूर्ति २ र लाहिरु सिमारकून २२ रन बनाएर आउट भए । मयन यादव ३४ र रुपेश सिंह ४ रनमा अविजित रहे ।

बलिङमा जनकपुरका मिलिन्द कुमारले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका मिलिन्दले १५ रन खर्चेर ३ विकेट लिए । करण केसी, शाहव आलम र सन्तोष यादवले एकएक विकेट लिए ।

यस्तो देखियो एनपीएल दोश्रो संस्करणको पहिलो खेल ड्रोनबाट (तस्बिरहरु)

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित क्रिेकेट मैदानमा सुरु भएको छ ।

मंसिर १ देखि २७ सम्म आयोजना हुने एनपीएल को दोश्रो संस्करणको पहिलो खेलमा काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबीच खेल भइरहेको छ ।

 

ट्रम्पद्वारा भेनेजुएलाका राष्ट्रपति मदुरोसँग सम्भावित वार्ताको सङ्केत

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार भेनेजुएलाका समकक्षी निकोलस मदुरोसँग निकट भविष्यमा वार्ता हुन सक्ने सङ्केत दिएका छन् । क्यारिबियन क्षेत्रमा अमेरिकी सैन्य गतिविधि तीव्र बनेपछि क्षेत्रीय तनाव बढिरहेको अवस्थामा उहाँको यस्तो अभिव्यक्ति आएको हो ।

ट्रम्पले भनेका थिए, “हाम्रा प्रतिनिधिहरूले मदुरोसँग केही विषयमा छलफल गर्दै हुन सक्छन् । त्यो प्रक्रियाको परिणाम कुन दिशामा जान्छ, अहिले भन्न सकिँदैन । तर उनीहरूले कुरा गर्न चाहना व्यक्त गरेका छन् ।” पत्रकारहरूले थप विवरण माग्दा उनले भने, “भेनेजुएला संवादको इच्छुक छ । यसको ठ्याक्कै अर्थ के हो, म निश्चित छैन । म सबैसँग कुरा गर्न तयार छु ।”

यसअघि, अमेरिकी विदेश मन्त्रालयले मदुरोको नेतृत्वमा रहेको दाबी गरिएको ‘कार्टेल डे लस सोल्स’ लाई विदेशी आतङ्कवादी सङ्गठन ९एफटिओ० का रूपमा सूचीबद्ध गर्ने निर्णय सार्वजनिक गरेको थियो । विदेशमन्त्री मार्को रुबियोले जारी गर्नुभएको विज्ञप्तिमा उक्त कार्टेलसहित अन्य तोकिएको एफटिओहरूले अमेरिकामा लागुऔषध तस्करी बढाएको र क्षेत्रीय आतङ्कवादी गतिविधिमा भूमिका खेलेको दाबी गरिएको छ ।

नोभेम्बर २४ बाट लागू हुने यो सूचीकरण क्यारिबियन क्षेत्रमा हालै बढाइएको अमेरिकी सैन्य परिचालनसँग संलग्न छ । वासिङ्टनले यसलाई लागुऔषध तस्करी नियन्त्रणका लागि आवश्यक भन्दै आएको छ । तर काराकासले भने यो कदम राष्ट्रपति मदुरोको सत्ता फाल्न अमेरिकी प्रयासको हिस्सा भएको आरोप लगाएको छ । मदुरोलाई वासिङ्टनले अवैध नेता र लागुऔषध कारोबारमा संलग्न व्यक्ति भनेर आरोप लगाउँदै आएको छ । उक्त आरोपलाई उनले अस्वीकार गर्दै आएको छ ।

रुबियोले आइतबार कार्टेल डे लस सोल्सको नेतृत्व मदुरो र उनका वरिष्ठ अधिकारीहरूले गर्दै आएका छन्, जसले ‘भेनेजुएलाको सेना, गुप्तचर निकाय, विधायिका र न्यायपालिकालाई गम्भीर रूपमा भ्रष्ट बनाएका छन्’ भनी पुनः दाबी गर्नुभयो । उनले भने, “मदुरो वा उहाँका सहयोगीहरूले भेनेजुएलाको वैध सरकारको प्रतिनिधित्व गर्दैनन् ।”

अमेरिकी अर्थ मन्त्रालयले यसअघि पनि कार्टेल डे लस सोल्समाथि तिनीहरूले अन्य अपराध समूहहरूलाई ‘भौतिक सहयोग’ गरेको आरोपमा प्रतिबन्ध लगाइसकेको छ ।

यसैबीच अमेरिकाले क्यारिबियन तथा पूर्वी प्रशान्त दुवै क्षेत्रमा ‘अपरेसन साउदर्न स्पियर’ नामक कडा नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ । एएफपीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा मानव तस्करीविरुद्धको सैन्य अभियान सुरु भएदेखि अमेरिकी सेनाले समुद्री क्षेत्रमा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा कम्तीमा ८३ जनाको मृत्यु गराएको छ । तर अमेरिकाले ती लक्ष्यहरू वास्तवमा तस्कर नै थिए कि थिएनन् भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छैन । विज्ञहरूले यस्तो कारबाहीलाई गैरन्यायिक हत्याको रूपमा हेर्नुपर्ने टिप्पणी गरेका छन् ।

अमेरिकी नौसेनाले आइतबार युएसएस जेराल्ड आर। फोर्ड विमानवाहक जहाज क्यारिबियन सागरमा तैनाथ रहेको पुष्टि गरेको छ । यससँगै दुई निर्देशित मिसाइल विध्वंसक जहाज तथा अन्य सहयोगी जहाज र विमानहरूसमेत परिचालनमा छन् । यो घोषणा पूर्वी प्रशान्त क्षेत्रमा गरिएको पछिल्लो अमेरिकी आक्रमणको एक दिनपछि आएको हो । उक्त आक्रमणमा तीन जनाको मृत्यु भएको थियो ।

पहिलो खेलमै आसिफ शेखको अर्धशतक

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमै जनकपुरका आसिफ शेखले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं गोर्खाज विरुद्धको खेलमा आसिफले ३७ बलमा अर्धशतक प्रहार गरेका हुन् । उनले ६ चौका र एक छक्का प्रहार गरेका छन् ।

काठमाडौंसँग लगातार दबाबमा जनकपुर

काठमाडौं । काठमाडौं गोर्खाजका बलरले लगातार विकेट लिएपछि जनकपुर बोल्ट्स लगातार दबाबमा परेको छ । पहिलो ब्याटिङ गरेको जनकपुरले १० ओभरको खेल सकिँदा चार विकेट गुमाएर ५६ रन बनाएको छ ।

जनकपुरका प्रारम्भिक ब्याटर आसिफ शेख ३८ रन बनाएर क्रिजमा छन् । उनलाई मयन यादवले साथ दिइरहेका छन् । जनकपुरका लागि मिलन्था लाहिरुले सात र जान निकोल लफ्टी–इटोनले दुई रन बनाए । कप्तान अनिल साह शून्यमा आउट भए । काठमाडौंका लागि मिलिन्द कुमारले तीन र सन्तोष यादवले एक विकेट लिए ।

रोबोट र एआईले बदलिदिएको चीनको १५औँ राष्ट्रिय खेलकुद

गुआङझाउ । चीनको १५औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अहिले अत्याधुनिक प्रविधिको प्रदर्शन हुँदैछ । रोबोटहरूले खेलाडीहरूलाई मेडल प्रदान गर्दै दर्शकहरूको ध्यान तानेका छन् ।

प्रविधिको शहरका रूपमा चिनिने शेन्जेनमा रोबोटहरूले पोडियमसम्म पदक पु–याउँदा दर्शकहरू उत्साहित हुँदै तस्बिर खिचिरहेका छन् । ९२ किलोग्राम बक्सिङका रजत पदक विजेता मेङ फानलोङ्ग भनेका छन्,“म निकै आश्चर्यचकित छु । भविष्यमा रोबोटहरू हामीभन्दा धेरै सक्षम हुनेजस्तो लाग्छ ।”

यसपटकको ‘क्रस–बाउन्डरी’ खेलकुदमा विभिन्न प्रतिस्पर्धाहरूमा रोबोटहरूको व्यापक र प्रभावकारी प्रयोग भइरहेको छ ।

एथलेटिक्स मैदानमा रोबोटिक कुकुरहरूले जेभेलिन बोकेर कर्मचारीहरूको काम सजिलो बनाइरहेका छन्, जबकि अन्य रोबोटहरू स्थल गस्ती, पावर प्रणाली निरीक्षणको भूमिकासमेत निभाइरहेका छन् ।

आयोजकका अनुसार प्रतियोगितामा कृत्रिम बुद्धिमत्ता ९एआई० र उन्नत सूचना प्रविधिसहित १३० भन्दा बढी हाई–टेक उपकरण प्रयोगमा छन् ।

उद्योग विशेषज्ञ पान हेलिनका अनुसार, यस्तो ठूलो स्तरको प्रतियोगिताले रोबोटिक्स र स्वचालित सवारीहरूको वास्तविक परीक्षण गर्ने उत्कृष्ट अवसर प्रदान गर्छ ।

साइकल दौडमा उच्च प्रविधिको योगदान

हङकङ–झुहाइ–मकाउ पुल हुँदै तीनै क्षेत्र जोड्ने पुरुष रोड साइकल दौडमा प्रविधिले सुरक्षा र व्यवस्थापनमा महत्वपूर्ण भुमिका खेलेको छ । लिङडिङयाङ समुद्री क्षेत्रमा चालकविहीन गस्ती र एचडी क्यामेरासहित गस्ती गरिरहेका छन् ।

दर्शकहरूका लागि समावेशी प्रविधि

दर्शकहरू अहिले एकै क्लिकमा साङ्केतिक भाषा सुविधा प्रयोग गरिरहेका छन्, जसले खेल हेर्ने अनुभवलाई अझ समावेशी बनाइरहेको छ ।

उद्योगमा दीर्घकालीन प्रभाव

विशेषज्ञहरूका अनुसार राष्ट्रिय खेलकुदमा प्रयोग भएका यी प्रविधिहरूले खेल प्रविधि उद्योगमा सकारात्मक र दिगो प्रभाव पारिरहेका छन् ।

शेन्जेनस्थित एक प्रविधि कम्पनीका प्रमुख ली जीले एआईको विकाससँगै खेल प्रकाश प्रणाली र डिजिटल सामग्रीको संयुक्त प्रदर्शन समाधान झनै लोकप्रिय बन्दै गएको बताएका छन्।

पान हेलिनका अनुसार, खेलकुदमा देखाइएको प्रविधिले उद्योग उत्पादनकर्ताहरूलाई व्यावहारिक सन्दर्भ र दिशा प्रदान गर्दै ग्रेटर बे एरियाको डिजिटल तथा बुद्धिमान विकासलाई मजबुत बनाइरहेको छ।

भियतनामद्वारा २०३० मा सांस्कृतिक उत्पादन र सेवाबाट अर्थतन्त्र सुदृढ गर्ने लक्ष्य

हानोई । भियतनामले सांस्कृतिक उद्योगको विकासलाई तीव्र पार्ने रणनीति अनुमोदन गरेको छ । यस रणनीतिअनुसार, सांस्कृतिक क्षेत्रमा वार्षिक करिब १० प्रतिशत वृद्धि हुने अपेक्षा राखिएको छ, र २०३० सम्म यसले देशको कुल उत्पादनमा ७ प्रतिशत योगदान पुर्‍याउने लक्ष्य राखिएको छ ।

रणनीतिले सांस्कृतिक उद्योगका उत्पादनहरूको निर्यात मूल्य वार्षिक ७ प्रतिशतले वृद्धि हुने लक्ष्य समेत तय गरेको छ । यसैअनुरूप, देशभर सांस्कृतिक उद्योग केन्द्र, सिर्जनात्मक क्षेत्र र सांस्कृतिक परिसरोंको विकास गर्ने योजना बनाइएको छ, जसले स्थानीय र राष्ट्रिय ब्रान्डको विकासमा पनि योगदान पुर्‍याउनेछ ।

भियतनामले सन् २०४५ सम्म दिगो सांस्कृतिक उद्योग प्रणाली निर्माण गर्ने लक्ष्य राखेको छ, जसले राष्ट्रिय उत्पादनमा ९ प्रतिशत योगदान पुर्‍याउने र सांस्कृतिक वस्तु तथा सेवाहरूको निर्यात वार्षिक ९ प्रतिशतले बढाउने अपेक्षा गरिएको छ ।

 

अस्ट्रेलियाद्वारा टर्कीसँग संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलन सह–आयोजनाको प्रस्ताव अस्वीकार

सिड्नी । अस्ट्रेलियाले आगामी वर्ष आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन ९कोप–३१० का लागि टर्कीद्वारा गरिएको सह–आयोजनाको प्रस्ताव सोमबार अस्वीकार गरेको छ ।

दुवै देशबीचको प्रतिस्पर्धी बोलीले ब्राजिलको बेलेममा चलिरहेको यो वर्षको जलवायु वार्तालाई प्रभावित गर्दै लगेका कारण अस्ट्रेलियाले यस्तो निर्णय लिएको हो ।

क्यानबेरा र अङ्कारा दुवैलाई हाल जारी गतिरोध अन्त्य गर्न तथा ब्राजिलको कूटनीतिक छविमा नकारात्मक प्रभाव नपार्न अन्तर्राष्ट्रिय समुदायबाट निकै दबाब परेको छ ।

कोप–३१ को आयोजक राष्ट्र सर्वसम्मतिले निर्धारण गर्नुपर्ने प्रक्रियाअनुसार अस्ट्रेलिया वा टर्की दुवै मध्ये कुनै एकले बोली फिर्ता नलिएसम्म वा सह–आयोजनामा सहमत नभएसम्म दुवै स्वतः बाहिरिने जोखिममा छन् । यस्तो स्थिति उत्पन्न भए कोप–३१ को जिम्मेवारी निर्धारित व्यवस्थाअनुसार जर्मनीमा सारिन सक्छ, जुन अभूतपूर्व कदम हुनेछ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सोमबार टर्कीसँग सह–आयोजना गर्ने प्रस्तावलाई स्पष्ट रूपमा खारेज गरेका थिए। उनले भने, “यो विकल्पै होइन र सबैलाई थाहा छ—त्यसैले यो प्रस्ताव अस्वीकार गरिएको हो ।”

यसका विपरीत टर्कीको एक कूटनीतिक स्रोतले अङ्काराले ‘सह–अध्यक्षता’ मोडेलको वकालत गरिरहेकाले सम्भावित सहकार्यको ढोका खुला नै रहेको तर सहमति नजुटे पनि एक्लै आयोजक बन्न तयार रहेको उल्लेख गरेको छ ।

अस्ट्रेलियाले आफ्नो प्रशान्त छिमेक राष्ट्रहरूसँग मिलेर दक्षिण अस्ट्रेलियाको एडिलेड सहरलाई सम्भावित आयोजक स्थलका रूपमा प्रस्ताव गरेको छ, जसले जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित प्रशान्त क्षेत्रलाई विश्वको ध्यान केन्द्रित गराउने उद्देश्य राखेको छ । प्रशान्त टापु राष्ट्रहरूले विगतमा कोप शिखर सम्मेलनहरूमा आफ्नो आवाज पर्याप्तरूपमा सुन्न नदिएको वा व्यावहारिक समाधान नदिएको गुनासो गर्दै आएका छन् ।

अस्ट्रेलिया स्वयं पनि जलवायु जोखिमका दृष्टिले कमजोर मानिन्छ । व्यापक वनस्पति–जीवजन्तु तथा उच्च तापक्रमका कारण आगलागीदेखि चरम मौसमी असरसम्म धेरै चुनौतीहरू रहेका छन् । तर यदि अस्ट्रेलिया आयोजक बन्न सफल भयो भने यसले आफ्नो हरित नीतिको कठोर मूल्याङ्कनको सामना गर्नु पर्नेछ ।

विश्वकै दोस्रो ठूलो कोइला निर्यातकर्ता भएका कारण देशले जीवाश्म इन्धनबाट लाभ उठाउँदै आएको र जलवायु कार्यलाई राजनीतिक तथा आर्थिक विवादको विषय बनाएको आलोचना हुँदै आएको छ । देशभित्र वर्षौंदेखि जारी ‘जलवायु युद्ध’ ले उत्सर्जन नीतिमा प्रगति अवरुद्ध गर्दै आएको पनि व्यापक रूपमा चिन्ताको विषय बनेको छ ।

यदि अस्ट्रेलियाले कोप–३१ आयोजना गर्ने अवसर पायो भने प्रशान्त क्षेत्रमा पहिलोपटक यस्तो ठूलो अन्तर्राष्ट्रिय जलवायु सम्मेलन बस्नेछ, जुन ऐतिहासिक उपलब्धि हुनेछ ।

टर्कीले पनि कोप–३१ ले विश्वका सबैभन्दा कमजोर क्षेत्र, विशेषतः प्रशान्त राष्ट्रहरू, सम्बन्धी मुद्दाहरूलाई विशेष सत्रहरूमार्फत प्राथमिकता दिनुपर्ने अपेक्षा राखेको बताइएको छ ।

अस्ट्रेलिया र टर्कीबीचको मतभेद समाधान गर्न ब्राजिलले एक विशेष दूत नियुक्त गरेको छ । तर कूटनीतिज्ञहरूका अनुसार नोभेम्बर २१ मा कोप–३० सकिनुअघि सहमति बन्ने कुनै सङ्केत अहिलेसम्म देखिएको छैन ।

एनपीएलको माहोल: प्रधानमन्त्री पुगिन् खेल हेर्न, हेलीकोप्टरबाट पुष्पवृष्टि (तस्बिरहरु)

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उद्‌घाटन गरेकी छन् ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भव्य कार्यक्रमबीच प्रधानमन्त्री कार्कीले उक्त प्रतियोगिताको उद्‌घाटन गरेकी हुन् । उद्‌घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो ।

उद्‌घाटन समारोहमा त्रिवि मैदानमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो । आजको उद्घाटन खेलमा काठमान्डु गोर्खाजले टस जितेर साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध फिल्डिङ गरिरहेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा सुरु भएको प्रतियोगिता यही मङ्सिर २७ गतेसम्म चल्ने छ । प्रतियोगितामा आठ टोली सहभागी छन् ।