`

नापी भएको ९ वर्षपछि १८६ परिवारको हातमा लालपुर्जा

धनुषा । नापजाँच सकिएको झन्डै नौ वर्षपछि धनुषाको बटेश्वरका १८६ परिवारले बल्ल आफ्नो जग्गाको लालपुर्जा पाएका छन्।

बटेश्वर गाउँपालिका–३ र ४, साविक बटेश्वर गाविसका वडा नं. १ देखि ९ सम्मका स्ववासी परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो।

२०७४ सालमै सम्बन्धित क्षेत्रको नापजाँच सम्पन्न भएको थियो। तर नापी सकिए पनि कानुनी र प्रशासनिक प्रक्रिया टुंगिन नसक्दा स्थानीयको हातमा लालपुर्जा पुग्न सकेको थिएन।

लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि नापी कार्यालय धनुषाले अहिले १८६ थान जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो।

लालपुर्जा पाएसँगै वर्षौंदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारले आफ्नो जग्गामाथिको औपचारिक कानुनी स्वामित्व पाएका छन्।

जग्गाको स्वामित्व प्रमाणित भएपछि स्थानीयलाई आर्थिक कारोबारमा समेत सहज हुने भएको छ। आवश्यक परेको अवस्थामा जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सकिनेछ भने स्वामित्वसम्बन्धी विवाद समाधानमा पनि लालपुर्जाले आधार दिनेछ।

यसअघि धनुषाका ४ हजार ५ सय ५४ परिवारले स्ववासी जग्गाको लालपुर्जा प्राप्त गरिसकेको जनाइएको छ।

वर्षौंसम्म नापीको कागज बोकेर बसेका परिवारका लागि भने लालपुर्जा हात पर्नु केवल कागजको प्रमाण होइन, जग्गामाथिको कानुनी अधिकार औपचारिक रूपमा स्थापित भएको दिन बनेको छ।

नेप्सेमा दोहोरो अंकको पहिरो

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा फेरि दबाब देखिएको छ। नेप्से परिसूचक ११.९० अंकले घटेर २ हजार ५८७.२५ विन्दुमा झरेको छ।

बजार ओरालो लागे पनि कारोबार रकम भने ४ अर्बभन्दा माथि रह्यो। नेप्सेका अनुसार शुक्रबार ४ अर्ब २९ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। दिनभर १ करोड १९ लाख १२ हजार कित्ता सेयर किनबेच भएका छन्।

समग्र बजारमा बिक्री चाप देखिँदा ११ वटा उपसमूहको सूचक घटेको छ। म्युचुअल फन्ड र ट्रेडिङ समूह भने सामान्य वृद्धिमा रहे।

शुक्रबार २०७ कम्पनीको सेयर मूल्य घट्दा ६१ कम्पनीको मूल्य मात्रै बढेको छ। यसले बजारमा बढ्नेभन्दा घट्ने कम्पनीको संख्या निकै बढी रहेको देखाएको छ।

कारोबारमा एनएमबी डिबेञ्चरका लगानीकर्ताले सबैभन्दा धेरै कमाए। उक्त डिबेञ्चरको मूल्य १४.२९ प्रतिशतले बढेको छ।

उता सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा ठूलो गिरावट बेहोरे। बैंकको सेयर मूल्य ८.५५ प्रतिशतले घटेको छ।

यससँगै साताको अन्तिम दिन बजार दोहोरो अंकले घटेर बन्द भएको छ।

‘पुराना सबै खराब’ भन्ने भाष्यप्रति नीता घतानीको आपत्ति 

काठमाडौं । एमाले सांसद नीता घतानीले राजनीतिमा पुरानो पुस्तालाई नै अयोग्य देखाउने गरी भइरहेको बहसप्रति असन्तुष्टि जनाएकी छन्।

शुक्रबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले लोकतन्त्र स्थापनादेखि देशको पूर्वाधार विकाससम्म पुरानो पुस्ताका नेताहरूको योगदानलाई बेवास्ता गरेर युवालाई उत्तेजित बनाउने भाष्य निर्माण गर्नु उचित नभएको बताइन्।

घतानीका अनुसार पछिल्ला साढे तीन दशकमा देशले हासिल गरेका राजनीतिक तथा सामाजिक उपलब्धिको पृष्ठभूमिमा विगतका पुस्ताले गरेको लामो संघर्ष जोडिएको छ। पुराना नेताहरूलाई गाली गरेर सामाजिक सञ्जालमा भ्युज र लाइक बटुल्ने प्रवृत्तिले देशको समस्या समाधान नगर्ने उनको भनाइ छ।

उनले वर्तमान सरकारप्रति पनि प्रश्न उठाइन्। सरकार कामभन्दा प्रचार र ‘स्टन्ट’ मा बढी केन्द्रित भएको आरोप लगाउँदै उनले नागरिकका दैनिक समस्यामा सरकारको उपस्थिति कमजोर देखिएको बताइन्।

बजारमा खाना पकाउने ग्यासको अभाव, स्वास्थ्य बीमाको अवस्था तथा बाढीपहिरोबाट सिर्जित विपद्को प्रसंग उठाउँदै घतानीले सरकारको कार्यशैलीमाथि आलोचना गरिन्।

‘३५ प्रतिशत रहेको साक्षरतालाई ८० प्रतिशत पुर्‍याउने, सडक, खानेपानी र स्वास्थ्यका पूर्वाधार बनाउने तथा जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने काम विगतका पुस्ताले गरेका हुन्,’ उनले भनिन्, ‘पुरानालाई गाली गरेर भ्युज र लाइक बटुल्दैमा देश बन्दैन।’

चुनावअघि नागरिकसँग ठूला वाचा गर्ने तर सत्तामा पुगेपछि जनताका समस्यामा मौन बस्ने प्रवृत्ति बढेको उनको आरोप थियो।

विपद्को समयमा समेत सरकारको प्राथमिकतामाथि प्रश्न उठाउँदै उनले बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यको उपस्थिति प्रभावकारी हुन नसकेको बताइन्।

घतानीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा जारी गरिएको नेपालको नयाँ नक्साको प्रसंगसमेत उठाइन्। राष्ट्रियताका विषयमा विगतमा लिइएका अडान र अहिलेका अभिव्यक्तिबीच तुलना गर्दै उनले वर्तमान नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएकी हुन्।

उनको भाषणको मुख्य सन्देश भने ‘पुरानो पुस्ता असफल र नयाँ पुस्ता मात्रै सक्षम’ भन्ने एकपक्षीय भाष्य निर्माण गर्न नहुने भन्ने थियो।

टेकु अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात, तीन जना पक्राउ

काठमाडौं । टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ड्युटीमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–४ का ४१ वर्षीय रामकुमार बुढाथोकी, २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकी छन्।

प्रहरीका अनुसार घटना असोज १४ गते राति करिब १ बजेको हो। तीनै जना अस्पतालको आकस्मिक कक्षमा पुगेपछि ड्युटीमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग विवाद भएको थियो।

त्यस क्रममा गालीगलौज गर्नुका साथै धाकधम्की दिएको र हातपातसमेत गरेको सूचना प्रहरीकहाँ पुगेको थियो।

सूचना पाएपछि प्रहरी वृत्त कालीमाटीबाट टोली अस्पताल पुगेको थियो। जाँचका क्रममा पक्राउ परेकाहरू घटनामा संलग्न रहेको खुलेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

परिसरका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार तीनै जनाविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुई ठूला मन्त्रालय गाभ्दै सरकार,मन्त्री-मन्त्रीमै खैलाबैला

काठमाडौं । सरकारका ठूला बजेट चलाउने मन्त्रालयहरू एउटै छातामुनि ल्याउने तयारीले मन्त्रिपरिषद्भित्रै खैलाबैला मच्चिएको छ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले सिँचाइलाई भौतिक पूर्वाधार मन्त्रालयमा गाभ्ने निर्णय गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले असन्तुष्टि जनाएका छन्। उनले निर्णय पुनर्विचार गराउन पहल गर्ने बताएको स्रोतको दाबी छ।

सरकारले भने मन्त्रालय पुनर्संरचनालाई प्रशासनिक र कामको प्रभावकारितासँग जोडेर अघि बढाएको बताउने गरेको छ। तर, निर्णयको उद्देश्यलाई लिएर सत्ताभित्रै फरक–फरक बुझाइ देखिएको छ।

स्रोतका अनुसार बैठकबाट केही मन्त्री बाहिरिएपछि मुख्य सचिवलाई निर्णय माइन्युटमा लेख्न लगाइएको थियो। सिँचाइअन्तर्गत ठूला बजेटका आयोजना र ठेक्का रहने भएकाले त्यसलाई भौतिक पूर्वाधारतर्फ सार्ने निर्णयलाई कतिपयले ‘ठूला विकास आयोजनाको स्रोत एकै ठाउँमा केन्द्रित गर्ने प्रयास’ का रूपमा हेरेका छन्।

अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगै सहरी विकासको जिम्मेवारी पनि सुनिल लम्सालसँग छ। राष्ट्रपतिको कार्यालयको अभिलेखमा लम्साललाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको देखिन्छ।

अब सिँचाइसमेत त्यही संरचनामा आए ठूला पूर्वाधार आयोजना, बजेट र विकास निर्माणसँग सम्बन्धित स्रोत एउटै मन्त्रालयको दायरामा आउनेछ। यही कारण मन्त्रालय गाभ्ने निर्णयलाई लिएर राजनीतिक र प्रशासनिक वृत्तमा चासो बढेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आधिकारिक विवरणमा भने अहिले पनि विराजभक्त श्रेष्ठ नै मन्त्रीका रूपमा कायम छन्।

निर्णय कार्यान्वयनमा गए भौतिक पूर्वाधारतर्फ विकास आयोजनाको दायरा अझ फराकिलो हुने देखिन्छ। तर सिँचाइ मन्त्रालयको जिम्मेवारी र संरचना कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारभित्रै सहमति जुटाउनुपर्ने अवस्था देखिएको छ।

ठूला बजेट र ठेक्का एउटै मन्त्रालयमा थुप्रिँदै जाँदा यसले प्रशासनिक समन्वय बढाउँछ कि शक्तिको केन्द्रीकरणको बहस जन्माउँछ, अबको मुख्य प्रश्न यही बनेको छ।

न्यायमा ५४ अधिकृतको सरुवा, ९ को नयाँ पदस्थापन

काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवाका अधिकृतहरूको जिम्मेवारी व्यापक रूपमा हेरफेर गर्ने भएको छ।

आयोगको असोज १४ गतेको निर्णयअनुसार ११ सहसचिव र ४३ उपसचिवसहित ५४ जना अधिकृतको सरुवा सिफारिस गरिएको छ।

कानुन समूहका राजपत्राङ्कित प्रथम श्रेणी अर्थात् सहसचिव वा सोसरहका ११ अधिकृतलाई विभिन्न निकायमा सरुवा गर्न आयोगले सिफारिस गरेको हो।

त्यस्तै, राजपत्राङ्कित द्वितीय श्रेणी अर्थात् उपसचिव वा सोसरहका ४३ अधिकृतको पनि विभिन्न मन्त्रालय, विभाग, आयोग तथा प्रदेशस्तरीय निकायमा सरुवा सिफारिस गरिएको छ।

सरुवा मात्रै होइन, न्याय सेवा आयोगले नयाँ नियुक्ति पाएका उपसचिव तहका अधिकृतहरूको पदस्थापनसमेत सिफारिस गरेको छ। न्याय, कानुन र सरकारी वकिल समूहअन्तर्गतका नौ उपसचिव तहका अधिकृतको नियुक्ति तथा पदस्थापन गरिएको हो।

आयोगको पछिल्लो निर्णयसँगै न्याय सेवाका उच्च तहका अधिकृतहरूको जिम्मेवारी र कार्यस्थलमा व्यापक फेरबदल हुने भएको छ।

आयोगले सहसचिव र उपसचिवको सरुवा सिफारिसको विवरण छुट्टाछुट्टै सार्वजनिक गरेको छ।

 

कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने

काठमाडौं। नेपाली कांग्रेसले १५ औं महाधिवेशन प्रचारप्रसारमा तामझाम नगर्ने बताएको छ।

महाधिवेशनको तयारीका विषयमा जानकारी दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष पत्रकार सम्मेलनमार्फत कांग्रेसले महाधिवेशनको प्रचारप्रसारमा तामझाम नगरिने बताएको हो।

कांग्रेस प्रवक्ता देवराज चालिसेले १५औं महाधिवेशनमा वातावरणमैत्री प्रचारप्रसार गर्नका लागि सबै उम्मेदवारहरुलाई आग्रह गरिएको बताए।

`१५औँ महाधिवेशनमा तामझामसहित प्रचारप्रसार सामग्री शहरमा टाँसिंदैन, सकेसम्म प्रविधिको प्रयोग गर्न उम्मेदवारहरुलाई आग्रह गरिएको छ, वातावरणमैत्री प्रचारप्रसार गर्ने नीति पार्टीले लिएको छ।´ प्रवक्ता चालिसेले भने।

कांग्रेसले महाधिवेशनमा डिजिटल बोर्डहरु राख्ने प्रवक्ता चालिसेले जानकारी दिए। उनले प्रचारप्रसारका लागि कुनै पनि पर्चा नछाप्न पनि उम्मेदवारहरुलाई आग्रह गरे।

पोखरामा भूमिगत गरिँदै बिजुलीका तार (तस्वीर)

पोखरा । पोखराको मुख्य व्यापारिक केन्द्र न्यूरोड अब आकाशमा झुन्डिएका गुजुल्टिएका तारबाट मुक्त हुने क्रममा छ। आधुनिक र व्यवस्थित सहर बनाउने योजनाअन्तर्गत सडकका विद्युत् तार जमिनमुनि लैजाने काम तीव्र पारिएको छ।

नेपाल विद्युत् प्राधिकरणको ‘पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना’ अन्तर्गत भारतीय कम्पनी टाटा प्रोजेक्ट्स लिमिटेडले करिब १ अर्ब ३० करोड रुपैयाँ लागतमा तार भूमिगत गर्ने काम गरिरहेको छ।

कुँडहरदेखि पृथ्वीचोक र विमानस्थल क्षेत्रसम्म अन्डरग्राउण्ड लाइनबाट विद्युत् प्रवाहसमेत सुरु भइसकेको छ। अहिले न्यूरोड, सिर्जनाचोक र लेकसाइड क्षेत्रमा काम धमाधम भइरहेको छ।

आयोजना पूरा भएपछि पोखराको मुख्य सहरी क्षेत्रमा पर्ने करिब २३ किलोमिटर सडकमा रहेका विद्युत्का तार जमिनमुनि पुग्नेछन्।

यससँगै सडक र बजार क्षेत्रमा देखिने तारको जाल हट्नेछ भने पोखराको सहरी सौन्दर्य र विद्युत् वितरण प्रणालीसमेत थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

Scanned-Image


 

 

‘इतिहासकै निजी क्षेत्रमैत्री सरकार’ भन्दै वाग्ले, व्यवसायीचाहिँ किन सशंकित?

काठमाडौं । सरकारको कार्यशैलीप्रति निजी क्षेत्रमा असन्तुष्टि बढिरहेको चर्चा चलिरहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भने सरकारलाई नै ‘इतिहासकै निजी क्षेत्रमैत्री’ घोषणा गरिदिएका छन्।

उनको दाबी छ, रास्वपा नेतृत्वको वर्तमान सरकार निजी क्षेत्रका लागि अहिलेसम्मकै अनुकूल र सुधारमुखी सरकार हो। निजी क्षेत्रले पनि सरकारको यो परिवर्तन महसुस गरिरहेको उनको भनाइ छ।

अर्थमन्त्री वाग्लेले भने, ‘दिस इज दि मोस्ट प्राइभेट सेक्टर फ्राइन्ड्ली गर्भमेन्ट इन नेपाल्स हिस्ट्री, दिस इज दि मोस्ट रिफर्म–ओरियन्टेड गर्भमेन्ट इन नेपाल्स हिस्ट्री भनेर हामीले दाबी गर्ने गरेका थियौँ । त्यो दाबीअनुरूप हामी त्यही बाटोमा हिँडिरहेका छौँ।’

तर सरकारको यो दाबी र निजी क्षेत्रको गुनासोबीच भने दूरी देखिन्छ। व्यवसायीहरूले लगानीको वातावरण अझै सहज बन्न नसकेको, नियमनका नाममा अनावश्यक झन्झट र दबाब खेप्नुपरेको गुनासो गर्दै आएका छन्।

वाग्लेले भने सरकारको प्राथमिकता नै आर्थिक सुधार र निजी क्षेत्रलाई सहज वातावरण बनाउने रहेको दोहोर्‍याए। उनले सरकारको बहुमतलाई पुराना दलप्रतिको असन्तुष्टिको परिणाम मात्रै नभई नयाँ राजनीतिक तथा आर्थिक सम्भावनाप्रतिको आशासँग पनि जोडेर व्याख्या गरे।

अर्थतन्त्रको आकार आगामी वर्षहरूमा १०० अर्ब अमेरिकी डलर पुर्‍याउने र आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म लैजाने लक्ष्यसमेत उनले सुनाए। यो लक्ष्य हासिल गर्न निजी क्षेत्रसँगको सहकार्य र लगानी बढाउनुपर्ने उनको भनाइ छ। १०० अर्ब डलरको अर्थतन्त्रका लागि निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको वाग्लेले यसअघि पनि बताएका थिए।

पुरानै विकास मोडललाई हुबहु पछ्याएर अब आर्थिक फड्को मार्न नसकिने वाग्लेको तर्क छ। नेपालको भौगोलिक अवस्था र बदलिँदो विश्व अर्थतन्त्रअनुसार नयाँ क्षेत्र पहिचान गर्नुपर्ने उनको भनाइ छ।

विशेषगरी डिजिटल अर्थतन्त्र, अन्तर्राष्ट्रिय बजारमा सेवा निर्यात र प्रविधिमा आधारित नयाँ व्यवसायलाई आर्थिक वृद्धिको आधार बनाउने सरकारको योजना उनले अघि सारे।

डिजिटल प्रविधिको विस्तारले नेपाली सेवाहरूलाई विश्व बजारमा पुर्‍याउन सहज बनाएको भन्दै उनले त्यसबाट पनि अर्थतन्त्र विस्तारको अवसर लिन सकिने बताए।

तर ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यदेखि १०० अर्ब डलरको अर्थतन्त्रसम्म पुग्ने सरकारी योजनाको सफलता अन्ततः लगानी, उत्पादन र निजी क्षेत्रको विश्वासमा निर्भर हुने देखिन्छ।

सरकारले निजी क्षेत्रमैत्री भएको दाबी गरिरहँदा व्यवसायीले व्यवहारमै त्यसको अनुभूति गर्न थाले कि थालेनन् भन्ने प्रश्न भने कायमै छ।

‘१०० दिनमा थिति बसाल्छौं’ भन्ने रविलाई प्रश्न : १८९ दिनमा के भयो?

काठमाडौं । नेकपाका सांसद गोपाल शर्माले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चुनावअघि गरेको ‘१०० दिनमा थिति बसाल्ने’ वाचा सम्झाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले अहिले रास्वपासँग दुईतिहाइ बहुमतसहितको सरकार रहेको र लामिछानेले चुनावअघि मागेको भन्दा बढी मन्त्रालयसमेत हातमा रहेको उल्लेख गरे।

उनले व्यंग्यात्मक शैलीमा प्रश्न गरे, ‘१०० दिन सरकार चलाउन दिनुस्, १३ वटा मन्त्रालय दिनुस्, रातारात देशमा थिति बसालेर देखाउँछौं भन्नुभएको थियो। अहिले तपाईंसँग दुईतिहाइ बहुमत छ, १३ होइन १८ वटा मन्त्रालय छन्। १०० दिन होइन, १८९ दिन बितिसक्यो। अब हामीले हेर्नलायक थिति के हो, देखाइदिन मिल्छ?’

शर्माले सरकारको कामप्रति असन्तुष्टि जनाउँदै ‘रातारात थिति बसाल्ने’ भनेर गरिएको दाबी व्यवहारमा भने देखिन नसकेको आशय व्यक्त गरे।

उनले विगतका सरकारहरूले समेत आँट गर्न नसकेका किसिमका ‘थिति’ सरकारले बसाएको भन्दै व्यंग्यसमेत गरे।

टिपरको ठक्करबाट ईभीमा सवार एक महिलाको मृत्यु, पाँच जना घाइते

काठमाडाैं । सिरहाको कर्जन्हामा टिपरको ठक्करबाट यात्रुवाहक विद्युतीय गाडी (ईभी)मा सवार एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कर्जन्हा नगरपालिका-४ भुल्केमा शुक्रबार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको म.प्र.०१-००१ ज. ०१२४ नम्बरको ईभीलाई विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०३-००२ ख. ३९९६ नम्बरको टिपरले ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते गोलबजार नगरपालिका-४ की करिब ४५ वर्षीया शोभा कुमारी यादवको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । टाउको र अनुहारमा चोट लागेकी यादवको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।

मृतक यादवको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ ।

दुर्घटनामा गम्भीर घाइते २२ वर्षीया प्रियंका यादवलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल लगिएको छ । अर्की घाइते गोलबजार नगरपालिका-६ की ४५ वर्षीया ललिता महतोलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

ईभी चालक धनगढीमाई नगरपालिका-२ का ३५ वर्षीय मन्जुर खान तथा गोलबजार नगरपालिका-४ का संगीता मण्डल र फुलकुमारी यादवको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरूको फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेका सबैजना जितिया पर्वका व्रतालु थिए । जितिया पर्वअन्तर्गत नुहाएर खाने दिन भएकाले उनीहरू कमला नदीमा नुहाउन जाँदै थिए ।

दुर्घटनामा संलग्न टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टिपरसमेत नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

जेनजी आन्दोलनका दोषीलाई कारबाही खोइ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिमा दोषीमाथि कारबाही गर्न सरकार असफल भएको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले आन्दोलनका क्रममा विद्यार्थीमाथि गोली चलाउनेदेखि सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतलगायत संरचनामा आगजनी गर्नेहरूमाथि अनुसन्धान र कारबाही अघि बढाउन माग गरे।

उनले तत्कालीन सरकारका जिम्मेवार व्यक्तिले आन्दोलनका क्रममा दोषीलाई कारबाही गर्ने घोषणा गरे पनि अहिलेको सरकारले त्यसलाई व्यवहारमा उतार्न नसकेको आरोप लगाए।

‘आन्दोलनको क्रममा अहिलेका गृहमन्त्री र प्रधानमन्त्रीले घाँटी सुकाई–सुकाई हत्यारा भनेका मानिसमध्ये एकजनालाई पक्राउ गर्न सक्नुभयो ?’ शाहीले प्रश्न गरे, ‘७६ जना मानिस तपाईंहरूलाई सत्ताको सिँढी चढाउनका लागि मात्र मरेका होइनन्।’

शाहीले जेनजी आन्दोलनका क्रममा भएको हिंसा र आगजनीमा संलग्नमाथि कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको विषयसमेत उठाए।

आयोगले २३ र २४ भदौका घटनाबारे अनुसन्धान गरी मानवअधिकार उल्लंघन तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिमाथि अनुसन्धान र कारबाहीका लागि सरकारलाई सिफारिस गरेको थियो। आयोगले २४ भदौमा सिंहदरबार, संघीय संसद् भवन, सर्वोच्च अदालतलगायत सरकारी तथा निजी संरचनामा भएको आगजनी र तोडफोडबारे समेत उल्लेख गरेको छ।

शाहीले आयोगको सिफारिस कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको आलोचना गरे।

‘सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र निजी सम्पत्तिसम्म जलाउनेहरूलाई कारबाही गर भनेर प्रतिवेदन आएको यतिका समय भइसक्यो, अनुसन्धानको अ पनि सुरु भएको छैन,’ उनले भने, ‘अनि तपाईं र हिजोको सरकारबीच फरक के भयो ?’

उनले जेनजी आन्दोलनमा मृत्यु भएका ७६ जनाको घटनालाई गम्भीर रूपमा लिएर दोषी पहिचान गरी कानुनी कारबाही अघि बढाउन सरकारसँग माग गरे। विभिन्न मानवअधिकार संस्थाहरूले पनि आन्दोलनका क्रममा भएको बल प्रयोग, आगजनी र हिंसाका घटनाको निष्पक्ष अनुसन्धान तथा जवाफदेहितामा जोड दिएका छन्।

शाहीले जेनजी घटनासँगै विगतका ठूला भ्रष्टाचार प्रकरणको छानबिनलाई पनि अघि बढाउन सरकारको ध्यानाकर्षण गराए।

वाइडबडी, एनसेल, फोरजी, ३३ किलो सुन, गिरीबन्धु टी–स्टेट, भुटानी शरणार्थी र क्यान्टोन्मेन्टलगायत आफूले ‘ठूला भ्रष्टाचारका काण्ड’ भन्दै आएका करिब ६५ वटा प्रकरणको अनुसन्धान गर्नुपर्ने उनको माग थियो।

उनले सरकारलाई पुराना र नयाँ सबै विवादित प्रकरणमा निष्पक्ष छानबिन गरी दोषी देखिए कानुनी दायरामा ल्याउन आग्रह गरे।

सांसदले उठाएका मुद्दा थन्किन नदिन प्रधानमन्त्री कार्यालयमा ‘संसद् डेस्क’ माग

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. कृष्णहरि बुढाथोकीले संसद्मा उठ्ने जनसरोकारका विषय कार्यान्वयनको चरणसम्म पुर्‍याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘संसद् डेस्क’ स्थापना गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सांसदहरूले सदनमा उठाएका समस्या र सुझाव भाषण तथा संसद्को रेकर्डमै सीमित हुन नहुने बताए।

उनले संसद्मा उठेका विषय तत्काल सम्बन्धित मन्त्रालयमा पठाउने, त्यसको कार्यप्रगति नियमित रूपमा अनुगमन गर्ने र भएको कामबारे सम्बन्धित सांसदलाई जानकारी गराउने जिम्मेवारी संसद् डेस्कलाई दिनुपर्ने प्रस्ताव गरे।

बुढाथोकीका अनुसार जनप्रतिनिधिका रूपमा सांसदहरू नागरिकका समस्या प्रत्यक्ष सुन्ने र ती विषय सरकारसमक्ष पुर्‍याउने माध्यम हुन्। त्यसैले सदनमा उठेका जनसरोकारका विषयलाई सरकारको कामको आधार बनाउनुपर्ने उनको भनाइ छ।

उनले चालु अधिवेशनमा शून्य, विशेष, आकस्मिक समय तथा विधेयकमाथिको सैद्धान्तिक छलफललगायत गरी ४२ पटक संसद्मा धारणा राखेको जानकारी दिए।

आफूले रामेछापका स्थानीय समस्या र सम्भावनादेखि देशका आर्थिक, सामाजिक तथा विकाससम्बन्धी विषयसम्म संसद्मा उठाउँदै आएको उनले बताए। सुशासन, समृद्धि, सदाचार र राजनीतिक संस्कार सुधारका विषयमा समेत निरन्तर आवाज उठाएको उनको भनाइ थियो।

सांसदले उठाएका विषयको सरकारले के गर्‍यो भन्ने जवाफदेहिता स्पष्ट बनाउन संसद् डेस्क उपयोगी हुने उनको तर्क छ।

संसद्मा उठेको विषय सम्बन्धित मन्त्रालयसम्म पुर्‍याउने मात्र नभई त्यसको प्रगति हेर्ने र सांसदलाई जवाफ दिने व्यवस्था भए जनताका गुनासा सम्बोधन गर्ने संसदीय प्रक्रिया थप प्रभावकारी हुने उनले बताए।

‘६ महिनामै सरकारमा फासीवादी प्रवृत्ति देखियो’

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकार गठन भएको ६ महिनामै ‘फासीवादी’ प्रवृत्ति देखिएको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले सरकारको ६ महिने कार्यकाल पूर्वप्रधानमन्त्रीको गिरफ्तारीदेखि पूर्वप्रधानन्यायाधीशसँग जोडिएको घटनासम्म आइपुगेको टिप्पणी गरे।

उनले सरकारलाई लोकतान्त्रिक बाटोमा फर्कन, संसद् र जनताप्रति जवाफदेही बन्न तथा लोकतान्त्रिक अभ्यासलाई पूर्ण रूपमा पुनःस्थापित गर्न सुझाव दिए।

सुशासन र सम्पत्ति छानबिनको नाममा देशभक्त शक्ति, सञ्चारकर्मी, नागरिक अभियन्ता र व्यवसायीलाई निशाना बनाइएको आरोप पनि थापाले लगाए। यी आरोप उनले संसद्मा सरकारको कार्यशैलीबारे टिप्पणी गर्ने क्रममा राखेका हुन्।

उनले पछिल्लो ६ महिनामा संसद्को भूमिका पनि कमजोर बनाइएको दाबी गरे। सत्ता पक्षको प्रभावमा संसद् सरकारको ‘छायाँ’ जस्तो बनेको र विधेयकहरू शक्ति र संख्याका आधारमा एकपक्षीय ढंगले पारित गरिएको उनको आरोप थियो।

प्रतिपक्षलाई सरकारको काममा सहयोगीका रूपमा लिनुको साटो बाधकका रूपमा बुझ्ने प्रवृत्ति देखिएको भन्दै उनले आपत्ति जनाए।

सभामुखले राजनीतिक सहमति निर्माणमा आवश्यक भूमिका खेल्न नसकेको र संसद्मा सत्ता पक्षको बहुमतको प्रभाव हाबी भएको उनको टिप्पणी थियो।

थापाले भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीपछिको उद्धार तथा राहत व्यवस्थापनलाई लिएर पनि सरकारको आलोचना गरे। विपद्को समयमा उद्धार र राहत प्रभावकारी हुन नसकेको तथा विदेशी सहयोग लिन ढिलाइ गरिएको आरोप उनले लगाए।

विपद्को व्यवस्थापनभन्दा आत्मप्रचारमा सरकारको बढी ध्यान गएको उनको दाबी थियो।

थापाले सरकारलाई लोकतान्त्रिक मूल्य र संसदीय अभ्यासप्रति उत्तरदायी बन्न आग्रह गर्दै वर्तमान कार्यशैली सुधार्न सुझाव दिएका छन्।

देउवा बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।

देउवा पक्षले समानान्तर रूपमा अघि बढाएको महाधिवेशन प्रक्रियाअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा भएको वडा अधिवेशनबाट उनी क्षेत्रीय प्रतिनिधि चयन भएका हुन्। वडा सभापति पदम महताका अनुसार देउवाको नाममा सर्वसम्मति जुटेको हो।

देउवाले वारेसनामामार्फत क्षेत्रीय प्रतिनिधिको उम्मेदवारी दर्ता गराएका थिए। उनको तर्फबाट स्थानीय कौशिलादेवी देउवाले उम्मेदवारी प्रक्रिया पूरा गरेकी थिइन्।

कांग्रेसको संस्थापन पक्षले यसअघि नै आफ्नो महाधिवेशन प्रक्रिया अघि बढाइसकेको अवस्थामा देउवा पक्षले छुट्टै अधिवेशन प्रक्रिया सुरु गरेको हो। देउवा पक्षले वडा अधिवेशनपछि क्रमशः स्थानीय, क्षेत्रीय, जिल्ला र प्रदेश तहका अधिवेशन गर्दै केन्द्रीय महाधिवेशनतर्फ जाने कार्यतालिका बनाएको छ।

देउवा यसअघि पनि वडा तहबाटै प्रतिनिधि निर्वाचित हुँदै महाधिवेशन प्रक्रियामा सहभागी हुँदै आएका थिए। यसपटक पनि उनले त्यही प्रक्रियाबाट अघि बढ्ने बाटो रोजेका हुन्।

अब सुरक्षा निकायले पनि ग्यास बेच्ने

काठमाडौं । सरकारले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन सुरक्षा निकायका पेट्रोल पम्पबाट समेत ग्यास बिक्री गर्ने तयारी गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पेट्रोलियम बिक्री केन्द्रबाट एलपी ग्याससमेत वितरण गर्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिएका हुन्।

विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापन तथा अनुगमनसम्बन्धी कार्यक्रममा बोल्दै सचिव तामाङले ग्यास आपूर्तिमा असहज अवस्था आए सुरक्षा निकायका आउटलेट प्रयोग गर्न सकिने बताए।

‘अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका सुरक्षा निकायले पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएका छन्,’ उनले भने, ‘उनीहरूका आउटलेटबाट ग्यास पनि वितरण गर्न सके आपूर्ति व्यवस्थापनमा धेरै सहज हुनेछ।’

तामाङका अनुसार पेट्रोल बिक्री गरिरहेका सुरक्षा निकायका आउटलेटमध्ये कम्तीमा एक दुई स्थानमा ग्यास बिक्रीको व्यवस्था मिलाउने तयारी छ।

उनले सम्भावित ग्यास अभावलाई ध्यानमा राखेर वैकल्पिक वितरण प्रणाली तयार पार्न लागिएको बताए। आपत्कालीन अवस्थामा बजारमा ग्यासको आपूर्ति प्रभावित भए सुरक्षा निकायका बिक्री केन्द्रबाट उपभोक्तालाई सेवा दिन सकिने मन्त्रालयको तयारी छ।

सचिव तामाङले नियमित आपूर्ति कायम राख्नसँगै भविष्यमा आउन सक्ने अभावको जोखिम न्यूनीकरण गर्न यस्तो व्यवस्था अघि बढाउन लागिएको स्पष्ट पारे।

क्याप्टेनले छाडे, जहाज थन्किए, ऋणको भारीमा नेपाल एयरलाइन्स

काठमाडौं । ऋणको भारी, जहाजको प्राविधिक समस्या र कमजोर व्यवस्थापनसँग जुधिरहेको नेपाल वायुसेवा निगममा अब दक्ष जनशक्तिको संकट थपिएको छ।

निगमका पाँच जना वाइडबडी क्याप्टेनले एकैपटक राजीनामा दिएपछि राष्ट्रिय ध्वजावाहकको अन्तर्राष्ट्रिय उडानमै असर पर्ने अवस्था आएको छ। निगम व्यवस्थापनका अनुसार राजीनामा स्वीकृत भए वाइडबडी जहाज सञ्चालनमै समस्या पर्न सक्छ।

विदेशी वायुसेवा कम्पनीले तुलनात्मक रूपमा आकर्षक पारिश्रमिक र सुविधा दिने भएकाले निगमका अनुभवी पाइलट तथा प्राविधिक जनशक्ति टिकाउन कठिन भइरहेको व्यवस्थापनको भनाइ छ।

निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले पाँच क्याप्टेनको राजीनामाले निगमलाई दोहोरो दबाबमा पारेको बताएका छन्। राजीनामा स्वीकृत गर्दा तत्काल जनशक्ति अभाव हुने र उनीहरूलाई रोक्न थप सुविधा दिनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

जनशक्तिको संकटसँगै निगमको अर्को ठूलो समस्या ऋण हो। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको ब्याजदर ९.५ देखि १०.५ प्रतिशतसम्म रहेको निगमले जनाएको छ। कोभिडका बेला समेत उच्च ब्याजदर कायम रहँदा ऋणको भार थप बढेको छ।

निगमको समस्या यतिमै रोकिँदैन। दुईवटा वाइडबडीमध्ये एउटामा जापानमा प्राविधिक समस्या देखिएको थियो भने अर्को लामो समयदेखि इटालीमा मर्मतका लागि थन्किएको छ। केही समयअघि दुवै वाइडबडी एकैपटक ग्राउन्डेड हुँदा निगमले करोडौँ रुपैयाँको कारोबार गुमाएको थियो।

अहिले पनि निगमका ६ जहाजमध्ये चारवटा सञ्चालनबाहिर रहेको रिपोर्ट सार्वजनिक भएको छ। एउटा वाइडबडी र एउटा न्यारोबडीबाट मात्रै उडान धान्नुपर्ने अवस्था आएपछि अन्तर्राष्ट्रिय उडान तालिकासमेत प्रभावित भएको छ।

त्यसमाथि वाइडबडीका रोल्स–रोयस इन्जिनको अनिवार्य ओभरहल गर्नुपर्ने अर्को चुनौती निगमसामु छ। मर्मतका लागि आवश्यक प्रक्रिया र टेन्डरमा समेत जटिलता देखिएको व्यवस्थापनले जनाएको छ।

निगमको बजार हिस्सा पनि खुम्चिँदै गएको छ। व्यवस्थापनका अनुसार करिब १२० देखि १३५ अर्ब रुपैयाँको नेपाली अन्तर्राष्ट्रिय हवाई बजारमा निगमको हिस्सा करिब १५ देखि १६ प्रतिशत मात्रै छ। बाँकी ठूलो हिस्सा विदेशी वायुसेवा कम्पनीले ओगटेका छन्।

यसरी एकातिर जहाज उडाउन पाइलट अभाव, अर्कोतिर जहाज नै थन्किने प्राविधिक समस्या र त्यसैमाथि चर्को ऋणको ब्याज। नेपाल एयरलाइन्स अहिले उडानभन्दा बढी संकट व्यवस्थापनमै अल्झिएको देखिन्छ।

निगम व्यवस्थापनले पनि अब सरकारी हस्तक्षेप र संस्थागत पुनर्संरचना आवश्यक रहेको बताएको छ। पर्यटनमन्त्रीले समेत ऋणको भार घटाउने, इक्विटी बढाउने र उच्च ब्याजदर पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

‘संसदीय प्रक्रियाले नदिए अध्यादेशबाटै काम अघि बढाऔँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले नागरिकका तत्कालीन समस्या समाधानका लागि सरकारले आवश्यक ठाउँमा अध्यादेशमार्फत काम अघि बढाउनुपर्ने बताएका छन्।

बर्खे अधिवेशनको अन्तिम दिन प्रतिनिधिसभाको शून्य समयमा बोल्दै कार्कीले विशेषगरी आफ्नो निर्वाचन क्षेत्र मोरङ–३ का भूमिसम्बन्धी समस्या समाधानमा संसदीय प्रक्रिया निकै सुस्त भएको बताए। कार्की मोरङ–३ बाट निर्वाचित सांसद हुन्।

उनले आफ्नो निर्वाचन क्षेत्रले जग्गासम्बन्धी समस्या, विकासका अधुरा योजना, बजेट, पूर्वाञ्चल विश्वविद्यालय र शिक्षण अस्पताललगायत विषय समाधानका लागि संसद्मा पठाएको बताए।

देशभर शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र संस्कृतिसँग जोडिएका थुप्रै समस्या रहेको उल्लेख गर्दै उनले ती विषयलाई लामो प्रक्रियामा अल्झाइराख्न नहुने धारणा राखे।

‘संसदीय प्रक्रियाको सुधार अत्यावश्यक छ। मेरो क्षेत्रको भूमिसम्बन्धी समस्या छिटो समाधान गर्न सक्ने गरी संसद्को नियमित प्रक्रिया बनेको छैन,’ उनले भने, ‘अब अध्यादेशमार्फत काम अगाडि बढाउनुपर्छ।’

कार्कीले कानुनी प्रक्रिया आफैँ नागरिकका लागि बाधक बन्न नहुने बताए। समस्या समाधानमा प्रक्रियागत जडताले ढिलाइ गरिरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।

‘प्रक्रियाको जडताले नागरिकलाई दुःख दिनु हुँदैन। आशा छ, अध्यादेश आएर अर्को अधिवेशन खुल्दा मेरो क्षेत्रको समस्याले समाधानको बाटो भेट्दछ,’ उनले भने।

संघीय संसद्को चालु अधिवेशन २८ वैशाख २०८३ मा सुरु भएको थियो। यस अवधिमा बजेट तथा बजेटसँग सम्बन्धित कानुनसहित अध्यादेशमार्फत ल्याइएका व्यवस्थालाई प्रतिस्थापन गर्ने विधेयकहरू पनि संसद्बाट पारित भएका छन्।

सरकारले सिफारिस गरेपछि राष्ट्रपतिबाट चालु अधिवेशन अन्त्य गरिएको छ। संविधानअनुसार संसद्को अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ।

चमेलीको पोइ: १८ वर्षपछि नारायण त्रिपाठीको कमब्याक

काठमाडौं। करिब १८ वर्षपछि ठूलो पर्दामा फर्किएका लोकप्रिय हास्य अभिनेता नारायण त्रिपाठीको पुनरागमनसँगै फिल्म ‘चमेलीको पोइ’ आजदेखि देशभर प्रदर्शनमा आएको छ।

एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा तयार भएको फिल्मले मायाप्रेम, आशक्ति, दाम्पत्य जीवनका उतारचढाव, विश्वास, घात तथा मानवीय सम्बन्धका विभिन्न आयामलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको छ। धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा हास्य र भावनालाई सँगसँगै अघि बढाइएको निर्माण पक्षले जनाएको छ।

निर्देशक बोहराका अनुसार दर्शकलाई करिब साढे दुई घण्टा भरपूर मनोरञ्जन दिने उद्देश्यले फिल्म निर्माण गरिएको हो। विशुद्ध मनोरञ्जनात्मक फिल्म भए पनि कथाले दर्शकको मनलाई भावनात्मक रूपमा छुने उनको विश्वास छ।

लामो समयपछि अभिनयमा फर्किएका नारायण त्रिपाठी आफ्नो पुनरागमनलाई लिएर उत्साहित छन्। करिब दुई दशकअघिसम्म ‘प्रेमचरो’ उपनामले फिल्म तथा सानो पर्दामा चर्चित त्रिपाठी अमेरिका गएपछि ठूलो पर्दाको अभिनयबाट टाढिएका थिए। बीचमा आफैँ फिल्म निर्माण गर्ने प्रयास गरे पनि त्यो सम्भव हुन नसकेको बताउँदै उनले ‘चमेलीको पोइ’मार्फत पुनः दर्शकमाझ आउन पाउँदा खुसी लागेको बताएका छन्।

फिल्ममा मुकुन भुसाल, विल्सन विक्रम राई, उमेश राई ‘फुलन्देकी आमा’लगायत कलाकारको अभिनय छ। मुकुनले ‘चमेलीको पोइ’ले दर्शकलाई भरपूर हँसाउनुका साथै केही ठाउँमा गम्भीर पनि बनाउने बताए। आफूले यसअघि यति धेरै कमेडीप्रधान फिल्ममा काम गर्ने अवसर नपाएको उनको भनाइ छ।

विल्सन विक्रम राईले फिल्म मनोरञ्जनले भरिपूर्ण रहेको बताए। उनले नारायण त्रिपाठीसँग बाल्यकालमै ‘साथी’ फिल्ममा स्क्रिन सेयर गरेको स्मरणसमेत गरे।

यही फिल्मबाट ठूलो पर्दाको यात्रा सुरु गरेका उमेश राईले पनि ‘चमेलीको पोइ’प्रति आफू निकै आशावादी रहेको बताए।

अभिनेत्री सुरक्षा पन्तले निर्देशक बोहरासँग ‘भैरे’पछि दोस्रोपटक सहकार्य गरेकी हुन्। आफूले खोजे र चाहेजस्तै कथा, परिवेश, पात्र तथा चरित्रमा काम गर्न पाएको भन्दै उनले खुसी व्यक्त गरेकी छन्।

निर्देशक बोहरा र शिवम् अधिकारीको लेखन रहेको फिल्ममा नारायण त्रिपाठी, सुरक्षा पन्त, मुकुन भुसाल, विल्सन विक्रम राई, रविन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, उमेश राई, अंशु महर्जन, बबिन राई, तारा शर्मा, खड्गबहादुर पुन ‘खबपु’, रजनी गुरुङ, सुनीता सापकोटा, मीना आरएल शाही, रितु मल्ल ठकुरी, श्रेया नारायणलगायत कलाकारले अभिनय गरेका छन्।

‘चमेलीको पोइ’ आजदेखि अल नेपाल प्रदर्शनमा आएको हो।

बादलको दाबी : निर्वाचन हारे पनि एमालेले आत्मसमर्पण गरेको छैन

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनको परिणाम स्वीकार गरे पनि एमालेले राजनीतिक रूपमा आत्मसमर्पण नगरेको बताएका छन्।

संसद्मा बोल्दै थापाले निर्वाचनमा भएको पराजयलाई कानुनी रूपमा स्वीकार गर्नु र राजनीतिक अडान त्याग्नु फरक विषय भएको बताए।

‘पराजयको स्वीकारोक्ति आत्मसमर्पण होइन,’ उनले भने, ‘म यो संसदमा एमालेको राजनीतिक अडान पुनः स्पष्ट गर्न चाहन्छु।’

थापाले वर्तमान सरकारको कार्यशैलीप्रति समेत तीव्र असन्तुष्टि जनाए। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारलाई उनले ‘फासीवादी’को संज्ञा दिँदै सरकार गठन भएको करिब ६ महिना पुगेको दाबी गरे।

एमालेले निर्वाचनको परिणामबाट प्राप्त संसदीय अवस्थालाई स्वीकार गर्दै संसद्मा आफ्नो राजनीतिक अडान र प्रतिपक्षी भूमिका प्रभावकारी बनाउने संकेत गर्दै आएको छ। २१ फागुनको निर्वाचनपछि थापा एमालेको समानुपातिकतर्फबाट प्रतिनिधिसभामा आएका हुन् र चैत १८ गते उनी संसदीय दलको नेतामा निर्विरोध चयन भएका थिए।

सरकारमाथि आलोचना गर्दै थापाले वर्तमान राजनीतिक अवस्थाप्रति एमालेको असहमति संसद्मार्फत निरन्तर उठाइरहने संकेत गरेका छन्।

एउटा पीडा सेलाउन नपाउँदै अर्को घटना, पीडित ओझेलमा : क्रान्तिशिखा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले देशमा भइरहेका घटनाप्रति राज्य र समाजको चासो क्षणिक बन्दै गएको भन्दै प्रश्न उठाएकी छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एउटा घटनाको पीडा सेलाउन नपाउँदै अर्को घटना चर्चामा आउने र अघिल्लो विषय ओझेलमा पर्ने प्रवृत्तिले पीडितले न्याय पाउने विषय नै कमजोर बन्दै गएको बताइन्।

धितालले पछिल्ला विभिन्न घटनालाई जोड्दै राज्यले नागरिकको पीडालाई केही दिनको सहानुभूति र चर्चामा सीमित गर्न नहुने धारणा राखिन्।

उनका अनुसार नयाँ घटना सार्वजनिक भएपछि पुराना पीडा र पीडितका समस्या बिस्तारै सार्वजनिक बहसबाट हराउने गरेका छन्। यसले न्यायको निरन्तर खोजी र राज्यको जवाफदेहितामाथि नै प्रश्न उठाएको उनले बताइन्।

‘देशमा एउटा दुःख आउँछ, केही दिन हामी चासो दिन्छौँ। अर्को घटना सार्वजनिक हुनासाथ अघिल्लो पीडा बिस्तारै ओझेलमा पर्छ,’ उनले भनिन्।

उनले जेनजी आन्दोलन, मधेसका घटनादेखि विभिन्न आपराधिक घटना र रसुवाको बाढीसम्मका विषयमा केही समय व्यापक चासो देखिए पनि त्यसपछि पीडितका समस्या पुनः ओझेलमा पर्ने गरेको बताइन्।

विशेषगरी बाढीमा बेपत्ता भएका बालबालिकाको खोजी र सुकुमबासीका समस्याजस्ता विषय नयाँ घटनाको चापसँगै प्राथमिकताबाट हट्न नहुने उनको भनाइ थियो।

धितालले राज्यको भूमिका पीडितलाई तत्काल सहानुभूति दिनेमा मात्र सीमित हुन नहुने बताइन्। पीडितको जीवन सामान्य अवस्थामा नफर्किएसम्म राज्य निरन्तर साथमा उभिनुपर्ने उनले धारणा राखिन्।

‘राज्य अरूको दुःखमा टेको लगाउने मात्र होइन, आफैँ पीडितको टेको बन्नुपर्छ,’ उनले भनिन्।

उनले पीडितका समस्या समाधान गर्न तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना, न्याय र राज्यबाट पाउनुपर्ने सेवा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइन्।

धितालले राज्यको उपस्थिति औपचारिकता पूरा गर्ने खालको नभई पीडितको जीवनमा देखिने परिणाम ल्याउने गरी हुनुपर्ने माग गरिन्। प्रतिनिधिसभाको आधिकारिक विवरणमा पनि धिताल रास्वपाकी सांसदका रूपमा सूचीकृत छिन्।

बालेनले जलवायु मुद्दालाई भूराजनीतिक विषय बनाउन नहुने बताएका थिए : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनको मुद्दालाई भूराजनीतिक विषयका रूपमा लिन नहुने धारणा राखेको जानकारी संसद्लाई दिएका छन्।

प्रधानमन्त्रीको महासभा सहभागिताबारे प्रतिनिधिसभालाई जानकारी गराउँदै मन्त्री खनालले जलवायु संकटबाट प्रभावित मुलुकका समस्यालाई साझा विश्वव्यापी मुद्दाका रूपमा उठाउनुपर्ने धारणा प्रधानमन्त्रीले राखेको बताए।

उनका अनुसार प्रधानमन्त्री शाहले रसुवाको भोटेकोसी बाढीबाट भएको क्षति र त्यसपछि प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायबाट अनुदानमा आधारित सहयोग आवश्यक रहेको विषय पनि उठाएका थिए। नेपालले भोगिरहेको जलवायुजन्य विपद्का लागि सहज र पर्याप्त जलवायु वित्त तथा सहयोगको आवश्यकता महासभामा प्रस्तुत गरिएको थियो।

प्रधानमन्त्री शाह असोज ६ गते संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका गएका थिए। उनले असोज ८ गते महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गरेका थिए। सम्बोधनमा भोटेकोसी बाढी, जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको जोखिम र प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको विषय समेटिएको थियो।

परराष्ट्रमन्त्री खनालका अनुसार महासभाको क्रममा नेपालले जलवायु संकट, विपद्का कारण भएको क्षति र पुनर्निर्माणका लागि आवश्यक सहयोगबारे विभिन्न अन्तर्राष्ट्रिय पक्षसँग समेत छलफल गरेको थियो। महासभाकै क्रममा नेपालले ‘सगरमाथादेखि समुद्रसम्म’ शीर्षकमा जलवायु केन्द्रित उच्चस्तरीय कार्यक्रमसमेत आयोजना गरेको थियो।

‘बजेट माग्ने मात्रै होइन, राज्यको ढुकुटी भर्ने नीति बनाऔँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले सांसदहरूको भूमिका आफ्नो निर्वाचन क्षेत्रमा बजेट र योजना माग्नेमै सीमित हुन नहुने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सांसदहरूले देशको समग्र अर्थतन्त्र बलियो बनाउने र राज्यको आम्दानी बढाउने नीतिमा ध्यान दिनुपर्ने बताए।

निर्वाचन क्षेत्रमा विकासका लागि बजेट माग्नु स्वाभाविक भए पनि त्यससँगै राष्ट्रिय ढुकुटीको अवस्था र अर्थतन्त्रको दीर्घकालीन प्रभावबारे पनि सांसदहरू गम्भीर हुनुपर्ने उनको भनाइ थियो।

उनले राज्यको स्रोत निरन्तर खर्च गर्ने तर त्यसको आम्दानी बढाउनेतर्फ ध्यान नदिने प्रवृत्तिले भविष्यमा समस्या निम्त्याउन सक्ने बताए। ‘भकारी रित्तो राखेर अन्न मात्रै मागिरह्यौँ भने एक दिन भकारी नै रित्तिन्छ,’ भन्ने उदाहरण दिँदै उनले नीति निर्माण तहमा रहेकाहरूको प्राथमिकता राज्यको ढुकुटी बलियो बनाउनु हुनुपर्ने धारणा राखे।

लामिछानेले आगामी हिउँदे अधिवेशनलाई विधेयक पारित गर्ने नियमित प्रक्रियामा मात्र सीमित नगर्न सरकार र संसद्लाई आग्रह गरे।

उनका अनुसार आगामी अधिवेशनमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, लगानी आकर्षण र निर्यात विस्तारलाई केन्द्रमा राखेर ठोस आर्थिक नीति निर्माणमा बहस हुनुपर्छ।

‘हामी राज्यको ढुकुटीबाट माग्ने प्रतिनिधि मात्र होइनौँ, त्यो ढुकुटी भर्ने नीति बनाउने जिम्मेवार प्रतिनिधि पनि हौँ,’ उनले भने।

उनले निर्वाचन क्षेत्रमा एउटा योजना थपिँदा तत्काल केही मानिस लाभान्वित भए पनि अर्थतन्त्र बलियो बनाउने नीतिको प्रभाव भने देशभर र लामो समयसम्म पर्ने बताए।

अबको संसदीय प्राथमिकता राष्ट्रिय आम्दानी बढाउने, उत्पादन र रोजगारी विस्तार गर्ने तथा लगानीका लागि अनुकूल वातावरण बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।

मधेसमा सदन बन्द, सांसदको तलबभत्ता चालु

काठमाडौं । मधेस प्रदेशसभा साढे दुई महिनादेखि ठप्प छ।

प्रदेशसभा बैठक आह्वान गर्ने निर्णय सरकारले गर्न नसक्दा सदन लामो समयदेखि निष्क्रिय बनेको हो।

प्रदेशसभा बैठक सञ्चालनका लागि सभामुखले मुख्यमन्त्री कृष्णप्रसाद यादवसँग पटकपटक छलफल गरे पनि मन्त्रिपरिषद्बाट अहिलेसम्म औपचारिक निर्णय हुन सकेको छैन।

मुख्यमन्त्री यादव पार्टीको महाधिवेशनसम्बन्धी गतिविधिमा व्यस्त रहेकाले त्यसपछि सदन सञ्चालन हुने अपेक्षा गरिएको छ। प्रदेश प्रमुखको कार्यालयबाट बैठक आह्वानसम्बन्धी पत्र आएलगत्तै प्रदेशसभा सञ्चालन गर्न सचिवालय तयार रहेको जनाइएको छ।

प्रदेशसभा बैठक नबसे पनि प्रदेशसभा सदस्यको तलबभत्ता तथा अन्य सुविधामा राज्यको खर्च भने रोकिएको छैन। १०७ सदस्य रहेको मधेस प्रदेशसभामा पारिश्रमिकसँगै इन्धन, सञ्चारलगायत सुविधामा मासिक करिब ७० लाख रुपैयाँ खर्च हुने गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।

पूर्ण बैठक नबसे पनि संसदीय समितिका गतिविधि भने सञ्चालनमा छन्। तर प्रदेशसभाको मुख्य बैठक कहिलेबाट बस्ने भन्ने निर्णय सरकारकै हातमा छ।

यसअघि आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्ने क्रममा प्रदेशसभा बैठक बसेको थियो। बजेटसँग सम्बन्धित विषयमा देखिएको विवाद समाधान गर्न कार्यदलसमेत गठन गरिएको थियो।

सदन लामो समयदेखि नबस्दा प्रदेशका जनताका समस्या, विकास निर्माण, कानुन निर्माण तथा सरकारका कामकारबाहीमाथि छलफल गर्ने संवैधानिक थलो प्रभावित भएको छ।

प्रदेशसभा सदस्यहरूको कार्यकालसमेत अब सीमित समय मात्र बाँकी रहेकाले बाँकी विधायी काम टुंग्याउन सदन तत्काल सञ्चालन गर्नुपर्ने दबाब सरकारमाथि बढेको छ।

झापामा हात्तीको त्रासदेखि लालपुर्जाको पर्खाइसम्म, इन्दिरा रानाले उठाइन् किसानको मुद्दा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले झापाका किसान र सुकुमबासीले भोगिरहेका समस्याबारे सरकारको ध्यानाकर्षण गराएकी छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बाली भित्र्याउने समय नजिकिँदै गर्दा जंगली हात्तीको प्रवेशले किसानलाई थप त्रसित बनाएको बताइन्। हात्तीबाट बाली जोगाउन स्थानीय किसान रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको उनले सदनलाई जानकारी गराइन्।

रानाले हात्ती नियन्त्रणका लागि सरकारले गर्दै आएका प्रयास प्रभावकारी हुन नसकेको भन्दै क्षति न्यूनीकरणका लागि तत्काल ठोस कदम चाल्न माग गरिन्।

उनले झापामा जग्गासम्बन्धी समस्या पनि लामो समयदेखि कायमै रहेको बताइन्। जग्गाको निस्सा प्राप्त गरिसकेका सुकुमबासीलाई समेत लालपुर्जा दिनुको साटो पुनः नापजाँचलगायत प्रक्रियामा अल्झाइएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन्।

स्थानीय तहबाट ‘माथिबाट आदेश आएको’ भन्दै नागरिकलाई अन्योलमा पार्ने खालका सूचना प्रवाह भइरहेको गुनासो आएको उल्लेख गर्दै उनले सम्बन्धित मन्त्रालयले यसबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताइन्।

हात्ती नियन्त्रणका सरकारी प्रयासप्रति व्यंग्य गर्दै उनले अहिलेसम्मको काम ‘हात्ती आयो, हात्ती आयो फुस्स’ जस्तै भएको टिप्पणी गरिन्।

रानाले हात्तीबाट प्रभावित किसानलाई तत्काल राहत उपलब्ध गराउन र निस्सा पाइसकेका सुकुमबासीलाई लालपुर्जा वितरणको प्रक्रिया शीघ्र अघि बढाउन सरकारसँग माग गरिन्।

उनका अनुसार बाली जोगाउने चिन्तामा किसान रातभर जाग्राम बस्ने र जग्गाको स्वामित्वका लागि वर्षौँ कुर्नुपर्ने अवस्था अन्त्य गर्न सरकारले स्पष्ट कार्ययोजनासहित काम गर्न आवश्यक छ।

बालिका र महिलामाथिको हिंसाबारे रास्वपा सांसदको सरकारसँग जवाफ माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले बालिकामाथि हुने जघन्य अपराध र महिलामाथिको हिंसा रोक्न सरकारले गरिरहेका कामबारे संसद्मा जवाफ मागेकी छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यसअघि सदनमा उठेको बालिकामाथिको बलात्कारसम्बन्धी घटनामा सरकारले तत्काल प्रतिक्रिया जनाएकोमा धन्यवाद दिँदै त्यसपछि अघि बढाइएको कामको अवस्थाबारे जानकारी मागिन्।

उनले सरकारले तयार पारिएको भनिएको प्रतिवेदनमाथि के भइरहेको छ भन्ने स्पष्ट पार्न आग्रह गरिन्। सरकारका सामु अन्य थुप्रै जिम्मेवारी भए पनि बालबालिका र महिलामाथिको हिंसाको विषय प्राथमिकताबाट हट्न नहुने उनको भनाइ थियो।

‘यो विषय सरकारको प्राथमिकताबाट हराएको छैन भन्ने विश्वास छ। तयार भएको भनिएको प्रतिवेदनमाथि अहिले के काम भइरहेको छ, त्यसबारे जान्न चाहन्छु,’ उनले भनिन्।

भारतलगायत विभिन्न देशमा महिलामाथि हुने यौन हिंसाविरुद्ध उठिरहेका आवाजको प्रसंगसमेत उल्लेख गर्दै श्रेष्ठले यस्तो समस्या कुनै एउटा समाज वा समुदायमा मात्र सीमित नभएको बताइन्।

उनका अनुसार महिलामाथिको यौन हिंसा नियन्त्रण गर्न कानुनी तथा सरकारी प्रयाससँगै सामाजिक तहमा पनि काम आवश्यक छ।

निर्वाचन प्रहरीको कपडा खरिद विवाद छानबिन गर्न संसदीय समिति गठन

काठमाडौं । निर्वाचन प्रहरीका लागि कपडा खरिद गर्दा भएको भनिएको अनियमितताबारे छानबिन गर्न संसदीय समिति गठन भएको छ।

शुक्रबार बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकले उक्त विवादबारे अध्ययन तथा छानबिनका लागि समिति गठन गरेको हो।

समितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झालाई जिम्मेवारी दिइएको छ। समितिमा ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य छन्।

निर्वाचन प्रहरीको पोसाक खरिदमा प्रश्न उठाउँदै रास्वपा सांसद खगेन्द्र सुनारले यसअघि सार्वजनिक लेखा समितिमा पटकपटक आवाज उठाएका थिए।

समितिले खरिद प्रक्रिया, त्यसमा संलग्न निकाय तथा निर्णय प्रक्रियालगायत विषयमा अध्ययन गरेर समितिलाई प्रतिवेदन बुझाउनेछ।

झापामा अमरेशको दौडधुप, घण्टैपिच्छे भेटघाटको कार्यक्रम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंह शुक्रबार झापा पुगेका छन्। सर्लाही–४ का सांसद सिंह दिनभर पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट र छलफलमा व्यस्त हुने कार्यक्रम छ।

सार्वजनिक गरिएको कार्यक्रम तालिकाअनुसार उनले बिहान ९ बजे मेचीनगरस्थित झापा–१ को पार्टी सचिवालयमा भेटघाट गरेका छन्। त्यसपछि बिहान ११ बजे भद्रपुर पुग्ने कार्यक्रम तय गरिएको छ।

त्यसैगरी दिउँसो साढे १२ बजे राजगढ, २ बजे झापा बजार र साढे ३ बजे गौरीगञ्जमा पार्टीका विभिन्न समिति तथा स्थानीय नेता–कार्यकर्तासँग छलफल गर्ने कार्यक्रम छ।

सिंहको झापा भ्रमणमा पार्टी संगठनसँग सम्बन्धित विषय तथा स्थानीय तहका राजनीतिक गतिविधिबारे छलफल हुने बताइएको छ।

सिंहले केही दिनअघि झापाको भद्रपुरबाट मेची–महाकाली पैदलयात्रा सुरु गर्ने घोषणा गरेका थिए। जनतासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या सुन्ने उद्देश्यले यात्रा गर्ने उनको भनाइ थियो।

हालै सिंहले रास्वपाभित्र कुनै अन्तरविरोध नरहेको दाबी गर्दै सत्तापक्षमा रहे पनि जनताका मुद्दा संसद्मा उठाउनु आफ्नो जिम्मेवारी भएको बताएका थिए।

नेसनल मेडिकल कलेजमा ‘नक्कली डाक्टरदेखि नक्कली बिरामीसम्म’को खेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारीले वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा गम्भीर अनियमितता भइरहेको आरोप लगाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै अन्सारीले लामो समयदेखि आन्दोलनमा रहेका आवासीय चिकित्सकको समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताए।

उनका अनुसार आन्दोलनरत चिकित्सकलाई होस्टल खाली गर्न दबाब दिइएको छ भने अस्पतालमा काम गर्न र कलेज परिसरमा प्रवेश गर्नसमेत रोक लगाइएको छ। पछिल्लो समय नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक र प्रशासनबीच विवाद चर्किएको र प्रवेश रोक, स्टाइपेन्ड, ड्युटी तथा अन्य व्यवस्थापनसम्बन्धी विषयमा चिकित्सकहरूले विरोध गर्दै आएका छन्।

अन्सारीले कलेजमा २५ जनाभन्दा बढी ‘फेक फ्याकल्टी’ रहेको दाबी गरे। उनका अनुसार त्यस्ता प्राध्यापक देखाएर स्नातकोत्तर तहका सिट लिने गरिएको छ।

चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा समेत कलेजले वास्तविक अवस्थाभन्दा फरक चित्र देखाउने गरेको आरोप उनले लगाए। निरीक्षण टोली आउँदा सुरक्षा गार्डलाई नै बिरामी बनाएर इमर्जेन्सीमा राखिएको उनको दाबी थियो।

त्यस्तै, विद्यार्थीलाई परीक्षा उत्तीर्ण गराइदिने नाममा रकम असुल्ने गरेको आरोपसमेत अन्सारीले लगाए। उनका अनुसार नेपाली विद्यार्थीबाट एउटा विषय पास गराइदिने भन्दै ३ लाख रुपैयाँसम्म र विदेशी विद्यार्थीबाट ५ लाख रुपैयाँसम्म लिने गरिएको छ।

‘उत्तरपुस्तिकामै उत्तर लेखेर पास गराउने खेल चलिरहेको छ,’ भन्दै उनले प्रश्न गरे, ‘यस्तो अवस्थामा चिकित्सा शिक्षा प्रणाली कसरी सुधारिन्छ?’

अन्सारीले कलेजमा भइरहेको भनिएका यस्ता गतिविधिबारे नियामक निकायको भूमिकामाथि समेत प्रश्न उठाए। राज्यका सम्बन्धित निकायले प्रभावकारी अनुगमन र कारबाही गर्न नसकेको उनको आरोप थियो।

उनले सरकारलाई तत्काल छानबिन गर्न आग्रह गर्दै विद्यार्थीको शैक्षिक भविष्यसँग खेलबाड हुन नदिन माग गरे।

‘मेरिटका आधारमा आएका विद्यार्थीको भविष्य अन्योलमा पार्न मिल्दैन,’ अन्सारीले भने, ‘मन्त्रीज्यूले गम्भीर भएर छानबिन गर्नुपर्छ।’

यसैबीच, कलेज प्रशासनले भने आवासीय चिकित्सकहरूको आन्दोलनका कारण शिक्षण सिकाइको वातावरण प्रभावित भएपछि उनीहरूलाई कलेज प्रवेशमा रोक लगाइएको दाबी गरेको छ।

बफर जोनका बासिन्दा वन्यजन्तु र विकास प्रतिबन्धको मारमा

काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेबेले मकवानपुरको हेटौंडा र मनहरी क्षेत्रका मध्यवर्ती क्षेत्रका बासिन्दाले भोग्दै आएका समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले वन्यजन्तुको त्राससँगै विकास निर्माणमा लगाइएको प्रतिबन्धका कारण बफर जोनका स्थानीयको जनजीवन कठिन बन्दै गएको बताए।

मध्यवर्ती क्षेत्र संघर्ष समितिका प्रतिनिधिसँगको भेटपछि आफूले त्यहाँको अवस्था बुझेको उल्लेख गर्दै थेबेले स्थानीयले सामान्य घर मर्मत गर्नेदेखि जग्गामा साना संरचना निर्माण गर्नेसम्ममा अवरोध भोग्नुपरेको बताए।

उनका अनुसार वन्यजन्तुको जोखिमका कारण साँझ परेपछि आवतजावत गर्नसमेत स्थानीय डराउनुपर्ने अवस्था छ। जंगली जनावरले घरपालुवा पशु चौपाया मार्ने तथा सडकमा वन्यजन्तुका कारण हुने दुर्घटनाबाट स्थानीयले ज्यान गुमाउने गरेको उनले बताए।

विकास निर्माण र प्राकृतिक स्रोतको उपयोगमा समेत मध्यवर्ती क्षेत्रका बासिन्दाले सहज अधिकार नपाएको उनको भनाइ थियो।

थेबेले यो विषय पटकपटक संसद्मा उठ्दै आए पनि अहिलेसम्म ठोस समाधान ननिस्किएको भन्दै असन्तुष्टि जनाए।

उनले स्थानीयका समस्या सम्बोधन गर्न मध्यवर्ती क्षेत्रसम्बन्धी नीति पुनरावलोकन गर्न र तत्काल निकास दिन सरकारसँग माग गरेका छन्।

सरकारलाई ध्रुवराज राईको व्यंग्य : अर्को वर्ष आउँदा ‘सुनको छानो’ भनेर आशीर्वाद दिन पाइयोस्

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रतिनिधिसभाको बर्खे अधिवेशनमा जनताका तर्फबाट उठाएका प्रश्नको अपेक्षित जवाफ नपाएको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले यसलाई नकारात्मक रूपमा नलिन आग्रह गर्दै सरकार र सत्तापक्षलाई व्यंग्यात्मक शैलीमा शुभकामना दिए।

उनले अर्को वर्ष अधिवेशनमा आउँदा सरकारलाई अझै राम्रो काम गरेको देख्न पाइयोस् भन्ने आशय व्यक्त गरे। ‘देउसेले भनेजस्तै यो वर्ष यस्तै भयो, अर्को वर्ष आउँदा सुनको छानो भनेर आशीर्वाद दिनुपर्ने अवस्था आओस्’ भन्ने उनको भनाइ थियो।

राईले सरकारलाई प्रतिपक्षलाई सही ढंगले अघि बढाउने वातावरण बनाउन पनि आग्रह गरे।

उनले विगतमा नेपाली कांग्रेस र माओवादीले बहुमत प्राप्त गरेको प्रसंग जोड्दै अहिले राष्ट्रिय स्वतन्त्र पार्टी बलियो शक्तिका रूपमा आएको उल्लेख गरे। यस्तो अवस्थामा सरकार र सत्ता टिकाउनु चुनौतीपूर्ण हुने संकेत गर्दै उनले सावधानी अपनाउन आग्रह गरे।

‘नेपाललाई सतीले सरापेको देश भनिन्छ, जोगिनुहोला,’ उनले भने, ‘सत्ता र सरकार जोगाएर पाँच वर्ष टिकाउनुभयो भने जनताले आशा गरेजस्तो हुनेछ। सदनबाट शुभकामना दिन चाहन्छु।’

लिग-२ का लागि सन्दीपको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने त्रिदेशीय शृंखलाका लागि १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।

क्यानले शुक्रबार सार्वजनिक गरेको टोलीमा सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी दिइएको छ। लामिछानेले यसअघि पनि नेपाली ओडीआई टोलीको कप्तानी गरिसकेका छन्।

टोलीमा कप्तान लामिछानेसँगै आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, ईशान पाण्डे र रोहित पौडेल छन्।

यस्तै अर्जुन कुमाल, सन्दीप जोरालगायत गुलशन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल टोलीमा समेटिएका छन्।

ओमानमा हुने लिग–२ को त्रिदेशीय शृंखला अक्टोबर ७ बाट सुरु हुँदैछ। नेपालले शृंखलामा ओमान र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। आईसीसीको खेल तालिकाअनुसार नेपालले अक्टोबर ११ मा क्यानडासँग, १३ मा ओमानसँग, १७ मा क्यानडासँग र १९ अक्टोबरमा ओमानसँग खेल्नेछ।

क्यानले गत अगस्टमै सन्दीपलाई नेपाली पुरुष ओडीआई टोलीको कप्तान नियुक्त गरेको थियो।

पूर्वाधार सम्मेलन २०२६ को तयारी : लगानीमैत्री कानुन सुधारबारे परामर्श

काठमाडौं । नेपाल पूर्वाधार सम्मेलन २०२६ को तयारीका क्रममा लगानी र विकासका लागि कानुनी सुधारसम्बन्धी परामर्श कार्यशाला तथा गोष्ठी आयोजना गरिएको छ।

कार्यक्रममा पूर्वाधार विकासमा लगानी आकर्षित गर्न आवश्यक कानुनी तथा नीतिगत सुधारका विषयमा छलफल केन्द्रित हुने अपेक्षा गरिएको छ।


 

 

नोभेम्बरमा कता जाँदैछन् बालेन?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)को नोभेम्बर भ्रमण तालिका व्यस्त बन्ने देखिएको छ। भारत भ्रमणको तयारी भइरहेका बेला त्यही महिनामा टर्कीमा हुने जलवायु परिवर्तनसम्बन्धी कोप-३१ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री शाहलाई औपचारिक निम्तो आएको छ।

भारत भ्रमणका लागि नेपाल र भारतबीच तयारी अघि बढिरहेको छ। भारतीय पक्षसँग भ्रमणको मिति र एजेन्डाबारे छलफल भइरहेको भए पनि अन्तिम मिति भने तय भइसकेको छैन। परराष्ट्रमन्त्री शिशिर खनालले पनि प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भइरहेको तर मिति निश्चित नभएको बताएका छन्।

उता, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमन्त्री शाहलाई कोप–३१ मा सहभागी हुन औपचारिक निम्तो पठाइसकेका छन्। परराष्ट्र मन्त्रालयले निमन्त्रणा प्रधानमन्त्री कार्यालयमा पठाइसकेको जनाएको छ। तर सम्मेलनमा नेपालको प्रतिनिधित्व प्रधानमन्त्रीकै नेतृत्वमा हुने वा अन्य तहको टोली जाने भन्ने निर्णय भइसकेको छैन।

कोप–३१ आगामी नोभेम्बर ९ देखि २० गतेसम्म टर्कीको अन्ताल्यामा हुँदैछ। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी यो सम्मेलनमा विश्वभरका देशका प्रतिनिधि तथा नेताहरू सहभागी हुनेछन्।

नेपालका लागि यो सम्मेलन जलवायु संकट र त्यसबाट परेको क्षतिको विषय उठाउने महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च हो। हालै संयुक्त राष्ट्रसंघको महासभामा पनि प्रधानमन्त्री शाहले नेपालमा जलवायुजन्य विपद्का कारण परेको क्षति र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकताबारे धारणा राखेका थिए।

नेपालले विगतका कोप सम्मेलनमा उच्च तहको प्रतिनिधित्व गर्दै आएको छ। कोप–२९ मा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली टोली सहभागी भएको थियो भने कोप–३० मा तत्कालीन कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारले नेपालको प्रतिनिधित्व गरेका थिए।

यसपटक भने प्रधानमन्त्रीको सम्भावित भारत भ्रमण र कोप–३१ को मिति एउटै महिनामा परेकाले भ्रमण तालिका व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ।

भारत भ्रमणको तयारी नोभेम्बरको उत्तरार्धमा गर्ने गरी अघि बढिरहेको विवरण सार्वजनिक भएका छन्। केही स्रोतले नोभेम्बरको तेस्रो साता भ्रमणको तयारी भइरहेको बताएका छन्। तर मिति औपचारिक रूपमा टुंगिएको छैन।

त्यसैले प्रधानमन्त्री शाहले भारत भ्रमण र कोप–३१ मध्ये कुन कार्यक्रममा आफैं सहभागी हुने भन्ने प्रश्नभन्दा पनि दुवै कार्यक्रमलाई कसरी तालिका मिलाएर अघि बढाउने भन्ने विषय अहिले सरकारका लागि महत्वपूर्ण बनेको छ।

आफ्नै धानखेत बग्दा चिन्ता छैन, वडा कार्यालय ढलेको हेर्दा आँसु आउँछ [फोटो-फिचर]

बागलुङ । आफ्नै धानखेत बाढीले बगर बनायो, तर वडाध्यक्ष तेजबहादुर थापालाई त्यसको खासै चिन्ता छैन। उनलाई दिनमै दस पटकसम्म दरमखोलाको किनार पुग्न बाध्य बनाउने पीडा भने अर्कै छ। आफ्नै पहलमा बनाएको वडा कार्यालयको भवन जगैदेखि ढलेर खोलामा पुगेको छ।

गलकोट नगरपालिका–९ को वडा कार्यालय भवन गत असोज ११ गते दरमखोलामा आएको बाढीले ढाल्यो। करिब ८० लाख रुपैयाँ खर्चेर २०७७ सालमा निर्माण गरिएको भवन खोलाको कटानले जमिनसहित भासिएपछि बगेर खोलामा पुगेको हो। अहिले भवनका अवशेष हेर्न र भित्र बाँकी रहेका सामान निकाल्न वडाध्यक्ष थापा जोखिम मोलेरै पुग्ने गरेका छन्।

“मेरो धानखेत बगेर मलाई केही चिन्ता लागेको छैन। म एकपटक पनि त्यो खेतमा पुगेको छैन। तर वडा कार्यालय लडेको ठाउँमा दिनमा १० पटक आउँछु। यहाँ आएर यो दृश्य देख्दा आँखा रसाउँछ,” थापा भावुक हुँदै भन्छन्।

उनका लागि यो भवन इँटा, सिमेन्ट र छानाले बनेको संरचना मात्रै थिएन। स्थानीय तहको पहिलो निर्वाचनपछि वडाध्यक्ष बनेसँगै उनले आफ्नै कार्यालय भवन बनाउने अभियान थालेका थिए। साविकको मल्म गाविस विभाजनपछि बनेको वडाको आफ्नै भवन थिएन। त्यसबेला स्थानीय भैरव माध्यमिक विद्यालयको कोठा भाडामा लिएर कार्यालय चलाउनुपर्थ्यो। त्यसबापत मासिक ६ हजार रुपैयाँ तिर्नुपर्थ्यो।

स्थानीयको सहयोग, केही जग्गा खरिद र केही जग्गा दानबाट जुटाएर तीन रोपनी क्षेत्रफलमा भवन बनाइयो। पार्किङ र बगैँचासहितको संरचना तयार भएपछि वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिन थालेको थियो।

तर बाढीले भवनसँगै पार्किङ क्षेत्र, बगैँचा र करिब १५ लाख रुपैयाँ खर्चेर जडान गरिएको सौर्य ऊर्जा प्रणालीसमेत क्षति पुर्‍यायो। जमिन कटान हुन थालेपछि स्थानीयले महत्त्वपूर्ण कागजात र केही सामान बाहिर निकालेका थिए। अझै पनि वडाध्यक्ष थापा कहिले टेबल, कहिले कुर्सी त कहिले कम्प्युटरका बाँकी उपकरण निकाल्ने प्रयासमा छन्।

दुई कार्यकाल वडाध्यक्ष भएर गरेका कामको सम्झना जोडिएको भवन ढलेपछि थापालाई आफ्नो राजनीतिक जीवनको एउटा महत्त्वपूर्ण उपलब्धि गुमेको अनुभूति भएको छ।

‘भवनसँगै मेरो इतिहास खोलामा मेटियो। यहाँ मेरा दुई-दुई कार्यकालका एक-एक थोपा पसिना छन्। मैले गरेको एउटा उपलब्धि थियो, तर त्यो मेटियो,’ उनी भन्छन्।

भवनको माथिल्लो संरचनामा ठूलो क्षति नदेखिए पनि जग नै खोलाले कटान गरेपछि त्यसलाई पुनःस्थापना गर्न सकिने हो कि होइन भन्ने अन्योल छ। सम्भव भए भवन उठाएर पुनःस्थापना गर्ने उनको चाहना छ।

कार्यालय भवन ढलेपछि वडावासीलाई सेवा दिन समस्या भएको छ। अहिले गाउँमै घर भाडामा लिएर सेवा प्रवाहलाई निरन्तरता दिइएको छ। भवनमा रहेका सबै कागजात र सामग्री सुरक्षित निकाल्न नसकिएकाले प्रशासनिक काम सहज बनाउन थप प्रयास आवश्यक छ।

दरमखोलाको बाढीले गलकोट नगरपालिकाका अन्य क्षेत्रलाई पनि असर गरेको छ। नगरपालिकाको प्रारम्भिक विवरणअनुसार २२ घरमा क्षति पुगेको छ। घरगोठसँगै व्यवसाय र खेतीयोग्य जमिनमा पनि क्षति भएको छ। हरिचौर र चरौंदी क्षेत्रमा बढी क्षति पुगेको जनाइएको छ।

वडाध्यक्ष थापाका लागि अहिले आफ्नै खेत गुमेको पीडाभन्दा जनताको साझा सम्पत्ति र वर्षौँको मेहनतले बनाएको कार्यालय गुमेको चोट ठूलो छ। दरमखोलाको किनारमा ढलेको भवन हेर्दा उनलाई आफ्नो व्यक्तिगत क्षतिभन्दा वडाको इतिहास बाढीले बगाएको अनुभूति बढी हुन्छ।

 

तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी

बालेन सरकारको ‘एक्सप्रेस गाडी’मा अदालतको ‘ब्रेक’

काठमाडौं । बालेन शाह नेतृत्वको सरकार गठन भएको ६ महिना नपुग्दै उसका दर्जनौँ निर्णय विवादमा परेका छन्। केही निर्णय अदालतबाट उल्टिएका छन् भने केहीमा सरकार आफैँ पछि हट्न बाध्य भएको छ।

सरकारले आफूलाई ‘एक्सप्रेस वे’मा दौडिरहेको गाडीका रूपमा प्रस्तुत गरे पनि अदालतका आदेशले त्यसको गति पटकपटक सीमित गरिदिएका छन्।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको पक्राउदेखि शेरबहादुर देउवा दम्पतीमाथिको अनुसन्धान, उद्योगी–व्यवसायीको धरपकड, सुकुम्बासी बस्तीमा डोजर, राहदानी छपाइको ठेक्का र सरकारी नियुक्तिसम्मका विषयमा अदालतले सरकारका निर्णयमाथि प्रश्न उठाएको छ।

जेनजी आन्दोलनसँग जोडेर ओली र लेखकलाई पक्राउ गरिए पनि मुद्दा अगाडि बढ्न सकेन। सर्वोच्चले थप हिरासतमा नराख्न आदेश दिएपछि दुवै हाजिरी जमानीमा छुटे। पूर्वऊर्जामन्त्री दीपक खड्काको पक्राउमा पनि अदालतले प्रक्रियागत त्रुटि देखायो। पूर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले तत्काल प्रमाणबाट कसुर पुष्टि नभएको भन्दै साधारण तारेखमा छाड्यो।

उद्योगी–व्यवसायीमाथिको धरपकडमा पनि सरकारलाई अदालती धक्का लाग्यो। शेखर गोल्छा, ज्योतिप्रकाश पाण्डेलगायतलाई अदालतले राहत दिएपछि सरकारले अघि बढाएको पक्राउ अभियानमाथि प्रश्न उठ्यो।

थापाथली, शंखमुल र मनोहरा किनारका सुकुम्बासी बस्तीमा डोजर चलाउने अभियानमा पनि सर्वोच्चले रोक लगायो। आवश्यक विकल्प र तयारीबिनै बस्ती हटाउन खोजिएको भन्दै अदालतले सरकारलाई पछि हटायो।

राहदानी छपाइको ठेक्का प्रकरणमा पनि सरकारको प्रयास अदालतबाट असफल भयो। सर्वोच्चले फ्रान्सेली कम्पनीको रिट खारेज गरेपछि पुरानै प्रक्रियाअनुसार ठेक्का अघि बढ्ने अवस्था बन्यो।

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक नियुक्तिसहितका निर्णयसमेत सर्वोच्चले बदर गरिदियो। त्यसपछि निगम नेतृत्वविहीन बन्न पुगेको छ।

पत्रकार किशोर श्रेष्ठ र राजनीतिक विश्लेषक भरत दाहालको पक्राउमा पनि अदालतले अभिव्यक्ति स्वतन्त्रता र प्रेससम्बन्धी कानुनी व्यवस्थालाई आधार बनाउँदै राहत दिएको छ। दुर्गा प्रसाईंलाई पक्राउ नगर्न आदेश दिइए पनि पक्राउ–रिहाइको शृंखला रोकिएको छैन।

सरकारभित्रै पनि विवाद कम छैन। मन्त्री बर्खास्तीदेखि वरीयता हेरफेर र विवादित मन्त्रीको पुनर्नियुक्तिसम्मका घटनाले मन्त्रिपरिषद्को कार्यशैलीमाथि प्रश्न उठाएको छ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरी करिब १२ घण्टा नियन्त्रणमा राखिएको घटनापछि सर्वोच्चको फुल कोर्ट बैठकले समेत कानुनी प्रक्रिया र स्वतन्त्र न्यायपालिकाको सीमाबारे सरकारलाई स्पष्ट सन्देश दिएको छ।

मंगलमा जीवनको संकेत?

काठमाडौं । मंगल ग्रहमा कुनै समय जीवन थियो कि थिएन भन्ने बहसलाई नासाको नयाँ खोजले फेरि तताएको छ।

नासाको ‘पर्सिभरेन्स’ रोभरले जेजेरो क्रेटरबाट संकलन गरेको एउटा चट्टानमा जीवनसँग सम्बन्धित हुन सक्ने रासायनिक संकेत भेटिएको वैज्ञानिकहरूले बताएका छन्। चट्टानमा भेटिएका केही जैविक पदार्थ र खनिजको संयोजन पृथ्वीमा सूक्ष्मजीवी गतिविधिसँग जोडिने संरचनासँग मिल्दोजुल्दो देखिएको हो।

तर वैज्ञानिकहरूले यसलाई मंगलमा जीवन भेटिएको प्रमाण भने मानेका छैनन्। यी संरचना जीवनबाहेकका प्राकृतिक रासायनिक प्रक्रियाबाट पनि बन्न सक्ने भएकाले थप अनुसन्धान आवश्यक रहेको उनीहरूको भनाइ छ।

पर्सिभरेन्सले जेजेरो क्रेटरमा प्राचीन नदी र तालका अवशेष खोज्दै आएको छ। कुनै समय पानी रहेको मानिएको यही क्षेत्रमा रोभरले ‘चेयाभा फल्स’ नाम दिइएको चट्टानमा अनौठा दाग फेला पारेको थियो।

रोभरमा रहेका पिक्सल र शर्लक उपकरणबाट गरिएको परीक्षणमा भिभियानाइट र ग्रेगाइटजस्ता खनिज भेटिए। पृथ्वीमा यस्ता खनिज केही अवस्थामा जैविक प्रक्रियासँग सम्बन्धित हुने गरेका छन्।

यही कारण वैज्ञानिकहरूको ध्यान उक्त चट्टानतर्फ तानिएको हो।

इम्पेरियल कलेज लन्डनका वैज्ञानिक सञ्जीव गुप्तासहितको टोलीले चट्टानको संरचना र खनिजबारे अध्ययन गरेको हो। अध्ययनले मंगलको प्राचीन वातावरणमा जीवनका लागि अनुकूल रासायनिक प्रक्रिया भएको हुन सक्ने सम्भावना देखाएको छ।

तर यसको अर्को पाटो पनि छ। यस्तै खनिज जीवनको उपस्थितिबिना हुने रासायनिक प्रतिक्रियाबाट समेत बन्न सक्छन्। त्यसैले अहिले नै मंगलमा जीवन थियो भन्ने निष्कर्ष निकाल्नु हतार हुने वैज्ञानिकहरूको भनाइ छ।

पर्सिभरेन्सले सोही चट्टानको नमुना सुरक्षित राखेको छ। त्यसलाई ‘सफायर क्यानियन’ नाम दिइएको छ। भविष्यमा उक्त नमुना पृथ्वीमा ल्याएर अत्याधुनिक प्रयोगशालामा परीक्षण गर्न सकिएमा यसको वास्तविक उत्पत्तिबारे अझ स्पष्ट जानकारी मिल्ने अपेक्षा छ।

मंगलमा पानी थियो, जैविक पदार्थ थिए र जीवनका लागि अनुकूल वातावरणसमेत हुन सक्ने संकेत यसअघि नै भेटिएका छन्। अब वैज्ञानिकको मुख्य प्रश्न एउटै छ, त्यहाँ जीवनको रासायनिक छाप पनि थियो कि थिएन ?

पर्सिभरेन्सले संकलन गरेको यही चट्टानले त्यसको उत्तरतर्फ महत्वपूर्ण बाटो खोल्न सक्ने वैज्ञानिकहरूको अपेक्षा छ।

फिर्केखोलामा फेरि डोजर, ५६ संरचना निशानामा [तस्वीरहरू]

पोखरा । पोखराको फिर्केखोला किनारमा बनेका संरचना हटाउने अभियान फेरि सुरु भएको छ। पोखरा महानगरपालिकाले बिहीबारदेखि खोलाको बहाव क्षेत्रमा रहेका बाँकी संरचनामाथि डोजर चलाउन थालेको हो।

महानगरका अनुसार खोलाको क्षेत्रभित्र पर्ने ५६ वटा पक्की तथा संस्थागत संरचना अझै हटाउन बाँकी छन्। पटकपटक पत्राचार गर्दा पनि संरचना नहटाएपछि डोजर चलाइएको नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाले बताए।

२०८० सालको नापजाँचमा फिर्केखोलाको बहाव क्षेत्रभित्र १६० संरचना पहिचान भएका थिए। तीमध्ये १०४ वटा अस्थायी तथा केही पक्की संरचना यसअघि नै हटाइसकिएको छ। बाँकीमा सरकारी कार्यालय, सामुदायिक भवन र ठूला पक्की संरचनासमेत छन्।

कानुनी प्रक्रिया, पुनः नापजाँच र वर्षाका कारण अभियान केही समय रोकिएको महानगरले जनाएको छ। यसअघि जेठ १० गतेदेखि तीन स्थानबाट एकैपटक डोजर चलाएर संरचना हटाउन थालिएको थियो।

महानगरको पर्यटन तथा सहरी विकास महाशाखाका प्रमुख विमल रञ्जन कार्कीका अनुसार चालु आर्थिक वर्षभित्र फिर्केखोलाको बहाव क्षेत्र पूर्ण रूपमा खाली गराउने लक्ष्य छ। संरचना हटाएपछि खोलाको संरक्षण र सौन्दर्यीकरणको काम अघि बढाइनेछ।

यसअघि संरचना भत्काइएका कतिपय घरमा भने अझै मानिसले बसोबास गरिरहेका छन्।

 

कासिन्द्रा यादवलाई रिहा गर्न जय नेपाल पार्टीको माग

काठमाडौं । जय नेपाल पार्टीले आफ्ना केन्द्रीय सदस्य कासिन्द्रा यादवलाई सिराहामा हिरासतमा लिइएको भन्दै तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ ।

पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले बिहीबार विज्ञप्ति जारी गर्दै प्रत्येक नागरिकलाई आफ्नो राजनीतिक मान्यता र धार्मिक आस्थाअनुसार क्रियाशील हुने अधिकार संविधानले सुनिश्चित गरेको उल्लेख गरेका छन् ।

हिन्दु धर्मको पक्षमा वकालत गर्नु वा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्नु कानुनविपरीत कार्य नभएको भन्दै पार्टीले यादवलाई सामाजिक सद्भाव भड्काएको आरोपमा हिरासतमा लिइएको घटनाप्रति आपत्ति जनाएको छ ।

राजनीतिक पूर्वाग्रह राखेर नागरिकलाई अनावश्यक दुःख दिने कार्य कानुनी राज्यको मान्यताविपरीत हुने भन्दै पार्टीले यादवलाई शीघ्र रिहा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतले बिहीबार साइबर ब्युरोलाई प्रसाईंमाथि थप अनुसन्धानका लागि एक दिनको म्याद दिएको हो।

प्रसाईंले आफूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।

साइबर ब्युरोले प्रसाईंलाई पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रहरीले प्रसाईंमाथि विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइरहेको छ।