`

अनमोलको ‘बाटुलो जून’ कार्तिक २६ मा

काठमाडौं। अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘बाटुलो जून’ आगामी कार्तिक २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ।

सनराइज पिक्चरले चलचित्रको टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। टिजरमा चलचित्रको कथा पूरै खुलाइएको छैन। बरु पात्र, परिवेश र कथाको केही झलक मात्रै देखाइएको छ।

चलचित्रको टिजरले ३० को दशकको प्रेमकथातर्फ संकेत गर्छ। त्यतिबेलाको सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने शैलीलाई कथाको केन्द्रमा राखिएको निर्माण पक्षले जनाएको छ।

आजको प्रविधिमैत्री समय र तीव्र गतिमा बदलिएको प्रेमभन्दा फरक, पुरानो पुस्ताको प्रेम कस्तो थियो भन्ने भाव चलचित्रमा प्रस्तुत गरिएको छ। आदर्श प्रेमकथामार्फत तत्कालीन समाज र जीवनशैलीलाई पर्दामा उतार्ने प्रयास गरिएको निर्माण पक्षको भनाइ छ।

‘बाटुलो जून’ अभिनेता भुवन केसीले निर्देशन गरेका हुन्। चलचित्रमा अनमोल केसी, भुवन केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका छ। बेल्जियममा बस्दै आएकी अभिनेत्री गरिमा पन्तले पनि यही चलचित्रमार्फत अभिनयमा पुनरागमन गरेकी छन्।

चलचित्रको कथा सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले लेखेका हुन्। राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन तथा रोमन बज्राचार्यको पार्श्व संगीत रहेको छ। प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकका रूपमा छन्।

‘बाटुलो जून’लाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् भने विवेक थापा सहनिर्माताका रूपमा रहेका छन्।

३० को दशकको प्रेम, त्यतिबेलाको समाज र बदलिँदो समयसँगै प्रेमको स्वरूपमा आएको परिवर्तनलाई कथामा जोडिएको चलचित्रले अनमोलको अघिल्ला फिल्मभन्दा फरक स्वाद दिने अपेक्षा निर्माण पक्षको छ।

नयाँ कांग्रेसको नयाँ शैली

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही फरक देखिँदैछ। यसपटक नेतृत्व चयन मात्रै होइन, पार्टीको संरचना, प्रतिनिधित्व, बन्दसत्रको शैलीदेखि प्रचार गर्ने तरिकासम्म केही नयाँ प्रयोग हुँदैछन्।

गत विशेष महाधिवेशनबाट विधानमा गरिएको संशोधनलाई कार्यान्वयन गर्दै कांग्रेसले युवा, महिला, विभिन्न समुदाय, विदेशमा रहेका कांग्रेसजन र विभिन्न पेसामा रहेका व्यक्तिलाई पार्टीको मूल संरचनामा समेट्ने व्यवस्था गरेको छ।

कांग्रेसले ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व वडादेखि केन्द्रसम्म सुनिश्चित गर्ने व्यवस्था गरेको छ। केन्द्रीय कार्यसमितिमै ३५ वर्षमुनिका २१ जना युवा सदस्य निर्वाचित हुनेछन्।

यसले पार्टीको नेतृत्वमा नयाँ पुस्ताको प्रवेश बढाउने अपेक्षा गरिएको छ।

पार्टीका विभिन्न तहका कार्यसमितिमा महिलाको कम्तीमा एकतिहाइ प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको छ। विधानमा गरिएको यो व्यवस्थाले कांग्रेसको संगठनमा महिला सहभागिता बढाउने लक्ष्य राखेको छ।

यसपटक सहमहामन्त्रीको संख्या पनि बढाइएको छ। आठबाट बढाएर ११ जना सहमहामन्त्री रहने व्यवस्था गरिएको छ। समावेशी समूहबाट निर्वाचित हुने तथा सभापतिबाट मनोनीत हुने व्यवस्था गरिएको छ।

वर्षौँदेखि पार्टी राजनीतिमा सक्रिय भएकाहरू मात्र होइन, विभिन्न पेसा, व्यवसाय र क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई पनि कांग्रेसको नेतृत्वमा ल्याउने बाटो खोलिएको छ।

यही ‘ल्याटरल इन्ट्री’ व्यवस्थाअन्तर्गत सात जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिमध्येबाट छ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।

यसले विदेशमा रहेका कांग्रेससम्बद्ध नेपालीलाई पार्टीको केन्द्रीय संरचनासँग जोड्नेछ।

अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई पनि केन्द्रीय समितिमा सुनिश्चित गर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी श्रमिक, प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्वपीडितको प्रतिनिधित्वलाई पनि स्थान दिइएको छ।

नयाँ व्यवस्थाअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुनेछ। त्यसमध्ये १७१ जना निर्वाचित हुनेछन् भने ६१ जनालाई सभापतिले मनोनयन गर्नेछन्।

यसपटक विगतमा जस्तो औपचारिक प्यानल बनाएर चुनावमा जाने अभ्यास नगर्ने बताइएको छ। प्रतिनिधिले आफ्नो विवेकअनुसार उम्मेदवार रोज्ने कांग्रेसको भनाइ छ।

तर व्यवहारमा समूह र गुटको प्रभाव कति घट्छ भन्ने कुरा निर्वाचनको परिणामले देखाउनेछ।

करिब सात हजार प्रतिनिधिलाई एउटै हलमा राखेर छलफल गराउने पुरानो शैली यसपटक अपनाइएको छैन। प्रतिनिधिलाई अलग-अलग समूहमा राखेर राजनीतिक, सांगठनिक तथा नीतिगत दस्तावेजमाथि छलफल गराउने तयारी गरिएको छ।

त्यसका लागि तीनवटा ठूला संरचना बनाइएका छन्। तिनको नाम हिमाल, पहाड र तराई–मधेश राखिएको छ।

महाधिवेशनका राजनीतिक तथा सांगठनिक दस्तावेज डिजिटल माध्यमबाट पनि प्रतिनिधिलाई उपलब्ध गराइनेछ।

प्रतिनिधिले छलफलका क्रममा राखेका सुझाव, धारणा र बहसलाई समेत अभिलेखका रूपमा सुरक्षित गर्ने तयारी छ।

कांग्रेसले यसपटक विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने तयारी गरेको थियो। तर प्राविधिक र व्यवस्थापकीय कारण देखाउँदै अन्तिम समयमा परम्परागत मतदान प्रणालीमै जाने भएको छ।

यसपटक काठमाडौंका चोकचोकमा ठूला गेट बनाउने, होर्डिङ राख्ने, तोरण झुन्ड्याउने र अत्यधिक झण्डा प्रयोग गर्ने शैलीलाई निरुत्साहित गरिएको छ।

उम्मेदवारलाई डिजिटल माध्यमबाट प्रचार गर्न जोड दिइएको छ। पर्चा छापेर मतदानस्थलमा वितरण गर्नसमेत रोक लगाइएको छ।

देशले हालै ठूलो प्राकृतिक विपद् भोगेका कारण महाधिवेशनलाई सकेसम्म कम खर्चिलो र कम भड्किलो बनाउने नीति कांग्रेसले लिएको छ।

त्यसैले सहरभरि सजावट र प्रचार सामग्री राख्ने पुरानो शैली यसपटक देखिने छैन।

१५औँ महाधिवेशनको उद्घाटनसँगै बन्दसत्र पनि काठमाडौंको खुलामञ्चमै गर्ने तयारी गरिएको छ। ठूलो संख्यामा प्रतिनिधि व्यवस्थापन गर्न त्यहीअनुसार संरचना तयार गरिएको छ।

यसपटकको महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित नराख्ने कांग्रेसको तयारी छ। पार्टीको संगठन कसरी सुधार्ने, नयाँ पुस्तालाई कसरी जोड्ने र आगामी राजनीतिक दिशा कस्तो बनाउने भन्ने विषयमा पनि बहस गर्ने तयारी छ।

‘बदलियो कांग्रेस, बदल्छौँ देश’ र ‘कांग्रेस २.०’ जस्ता नारामार्फत पार्टीलाई नयाँ ढंगले अघि बढाउने सन्देश दिन खोजिएको छ।

यसकारण १५औँ महाधिवेशन कांग्रेसका लागि अर्को नेतृत्व चयन गर्ने नियमित अधिवेशन मात्रै होइन। युवा र महिलाको सहभागिता बढाउनेदेखि विज्ञलाई पार्टीमा भित्र्याउने, विदेशस्थित कांग्रेसजनलाई केन्द्रमा ल्याउने, डिजिटल प्रचारमा जाने र बन्दसत्रको शैली बदल्नेसम्मका प्रयोग यसपटक हुँदैछन्।

कांग्रेसको महाधिवेशनमा को आउँदैछन्, को आउँदैनन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन आज काठमाडौंको खुलामञ्चमा हुँदैछ। उद्घाटन समारोहमा कांग्रेसले प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई निम्तो दिएको छ। तर, निम्तो पाएका सबै शीर्ष नेता भने खुलामञ्चमा देखिने छैनन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफैं सहभागी हुने तयारीमा छन्। रास्वपाका प्रवक्ता जगदिश खरेलका अनुसार अहिलेसम्म लामिछाने नै कार्यक्रममा जाने तय भएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने कांग्रेसको महाधिवेशनमा जाने छैनन्। बुवाको निधनपछि बरखीमा रहेका ओलीको ठाउँमा एमाले महासचिव शंकर पोखरेल सहभागी हुनेछन्। पोखरेलले एमालेका तर्फबाट महाधिवेशनलाई शुभकामना दिने कार्यक्रम छ।

यता नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने आफैं खुलामञ्च पुग्ने तयारीमा छन्। पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार प्रचण्डले कांग्रेस महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन्। प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले पनि उनको आजको कार्यतालिकामा कांग्रेस महाधिवेशनमा सहभागी हुने कार्यक्रम रहेको बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि कार्यक्रममा सहभागी हुनेछन्। झापामा रहेका लिङ्देन आजै काठमाडौं आउने र त्यसपछि कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव भने नआउने भएका छन्। उनको ठाउँमा सहअध्यक्ष शरतसिंह भण्डारी सहभागी हुनेछन्। यादवले भण्डारीलाई महाधिवेशनमा पार्टीको प्रतिनिधित्व गर्न पठाएको उनको सचिवालयले जनाएको छ।

यसरी कांग्रेसले सबै प्रमुख दलका शीर्ष नेतालाई बोलाए पनि खुलामञ्चमा केही शीर्ष नेता आफैं देखिनेछन् भने केहीको प्रतिनिधित्व दोस्रो तहका नेताले गर्ने भएका छन्।

कांग्रेसको १५औँ महाधिवेशन ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित हुँदैछ।

स्पेनमा भारी वर्षापछि बाढीको जोखिम

काठमाडौं । अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले अत्यावश्यकबाहेकका यात्रामा प्रतिबन्ध लगाएका छन्।

बाढीको जोखिम बढेपछि कातालोनियामा आपत्कालीन योजना सक्रिय पारिएको छ। २० प्रशासनिक क्षेत्रमा आइतबार दिउँसोसम्म यात्रा प्रतिबन्ध लागू गरिएको छ। अधिकांश यात्रुवाहक तथा क्षेत्रीय रेल सेवा पनि स्थगित गरिएको अधिकारीहरूले बताएका छन्।

मौसमविद्हरूले आइतबार बिहान मौसमजन्य जोखिम उच्चतम तहमा पुग्न सक्ने चेतावनी दिएका छन्। केही क्षेत्रमा तीन घण्टामै ९० मिलिमिटरभन्दा बढी र २४ घण्टामा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। जोखिममा रहेका क्षेत्रमा मोबाइल फोनमार्फत आपत्कालीन सूचना पठाइएको छ।

कातालोनियाका क्षेत्रीय राष्ट्रपति साल्भाडोर इयाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। भारी मेघगर्जनसहितको वर्षा, तीव्र हावा तथा पानीका बवण्डर र टोर्नाडो आउन सक्ने चेतावनी दिइएको छ। मौसम प्रणाली आइतबार उत्तरतर्फ सर्ने अनुमान गरिएको छ।

यसैबीच, मध्यपूर्वी स्पेनको अल्बासेते प्रान्तस्थित माद्रिगेरासमा आएको आकस्मिक बाढीमा १०२ वर्षीया महिलाको मृत्यु भएको छ। बाढीका कारण घर, सवारीसाधन र सार्वजनिक संरचनामा क्षति पुगेको छ।

करिब दुई घण्टाको अवधिमा प्रतिवर्गमिटर १४० मिलिमिटरभन्दा बढी वर्षा भएपछि आएको बाढीबाट करिब ९० जनालाई सुरक्षित स्थानमा सारिएको थियो। बाढीका कारण प्रभावित स्वास्थ्य केन्द्रबाट सेवा सञ्चालन गर्न नसकिएपछि स्वास्थ्य सेवा अस्थायी रूपमा रेडक्रसको परिसरबाट सञ्चालन गरिएको छ।

रातरात दीपक भट्टको कारागार सरुवा!

काठमाडौं। सम्पत्ति शुद्धीकरण तथा बैंकिङ कसुरको मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका व्यवसायी दीपक भट्टलाई रातारात सिन्धुपाल्चोक पुर्‍याइएको छ।

थुनामा रहेका भट्टलाई कारागार व्यवस्थापन विभागको आदेशमा शनिबार साँझै स्थानान्तरण गरिएको हो।

सरुवा भयो, तर किन भयो ? यसको स्पष्ट जवाफचाहिँ कारागार प्रशासनले दिएको छैन।

भट्टको सरुवा त्यतिबेला भएको छ, जतिबेला पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडिएको सम्पर्क र गतिविधिबारे प्रहरीको अनुसन्धान चलिरहेको छ। यही कारण भट्टको सरुवालाई सामान्य प्रशासनिक निर्णय मात्रै मान्न नहुने स्रोतको दाबी छ।

अनुसन्धानका क्रममा जबरासँग निकट भनिएका इनम सापकोटामार्फत भट्ट र अर्का व्यवसायी सुलभ अग्रवालसँग सम्पर्क हुने गरेको तथ्य खुलेको प्रहरी स्रोतको दाबी छ। यही कनेक्सन खोतल्ने क्रममा सापकोटालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएर मोबाइल जाँचदेखि बयानसम्म लिएको थियो।

नयाँ दिल्ली हुँदै दुबई उड्न लागेका सापकोटालाई केहीबेर सोधपुछ गरेपछि प्रहरीले छाड्यो। तर, उनले दिएको सूचनाले प्रहरीको अनुसन्धानको घेरा भने फराकिलो बनाएको बताइन्छ।

स्रोतका अनुसार सापकोटासँगको सोधपुछपछि जबरा, भट्ट र अग्रवालबीचको सम्पर्कबारे प्रहरीले थप जानकारी पाएको छ। त्यसैको बीचमा नख्खुमा रहेका भट्टलाई सिन्धुपाल्चोक सारिएपछि सरुवाको कारणमाथि प्रश्न उठेको हो।

यद्यपि, सम्पर्क हुनु नै अपराध होइन। जबरा, भट्ट र अग्रवालबीचको भनिएको सम्पर्कबाट गैरकानुनी काम भएको हो कि होइन भन्ने पनि अहिलेसम्म पुष्टि भएको छैन।

भट्ट यसअघि डिल्लीबजारबाट नख्खु पुगेका थिए। अहिले नख्खुबाट सिन्धुपाल्चोक। कारागार फेरिएसँगै भट्टलाई कहाँ राख्ने भन्ने निर्णय मात्रै हो कि यसपछाडि अरू कुनै ‘कनेक्सन’ पनि छ? भन्ने चासो सर्वत्र बढेको छ।

कारागार व्यवस्थापन विभागले भने सरुवाको औपचारिक कारण सार्वजनिक गरेको छैन। विभागको पत्रका आधारमा सक्कल फाइल र आवश्यक कागजातसहित भट्टलाई सुरक्षा घेरामा सिन्धुपाल्चोक पठाइएको नख्खु कारागारले जनाएको छ।

भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार तथा बैंकिङ कसुरसम्बन्धी मुद्दा विचाराधीन छन्।अब उनको पछिल्लो सरुवा नियमित प्रशासनिक प्रक्रिया थियो वा जबरा प्रकरणसँग जोडिएको अर्को कडी, त्यसको जवाफ भने अनुसन्धानले नै देला।

रसुवामा बाढी प्रभावितलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य तथा दन्त शिविर

रसुवा । बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले रसुवाको उत्तरगया गाउँपालिकामा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सुरु भएको छ।

रसुवा सामुदायिक विकास र सीईटीओपी अस्ट्रेलियाको आयोजनामा तथा उत्तरगया गाउँपालिकाको समन्वयमा शनिबारदेखि शिविर सञ्चालनमा आएको हो। विपद्पछि प्रभावित समुदायमा स्वास्थ्य सेवाको पहुँच सहज बनाउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।

उत्तरगया गाउँपालिका–५ लहरेपौवास्थित श्री शिवालय आधारभूत विद्यालयबाट सुरु भएको शिविरमा बाढी तथा पहिरो प्रभावित क्षेत्रका नागरिकसँगै स्थानीय बासिन्दालाई लक्षित गरिएको छ। शिविरमा स्वास्थ्य परीक्षण, दन्त उपचार, स्वास्थ्य परामर्श र आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको छ।

दुई दिन सञ्चालन हुने दन्त शिविरमा दाँत तथा मुख स्वास्थ्य परीक्षण, दाँत भर्ने, फुकाल्ने तथा आवश्यक परामर्श सेवा दिइँदैछ। अनुभवी चिकित्सकबाट स्वास्थ्य परीक्षण र परामर्शका साथै दीर्घरोगलगायत समस्याका कारण नियमित औषधि सेवन गरिरहेका बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइने आयोजकले जनाएको छ।

छ दिनसम्म सञ्चालन हुने शिविरअन्तर्गत असोज १९ र २० गते जिबजिबे तथा असोज २१ र २२ गते धुन्चेमा स्वास्थ्य तथा दन्त शिविर सञ्चालन गरिनेछ।

शिविरमार्फत बाढी तथा पहिरो प्रभावित नागरिकसँगै स्थानीय समुदायलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउँदै प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ।


 

साधारण सभामा म्याद गुज्रिएको चिउरा बाँडेपछि…

काठमाडौं । सहकारीको साधारण सभा, सदस्यलाई उपहार। तर उपहार खोलेर हेर्दा चिउराको म्याद नै गुज्रिएको भेटिएपछि हंगामा मच्चिएको छ।

कोटेश्वरस्थित होटल ए वान भेन्युमा शुक्रबार आयोजित हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाको १७औँ साधारण सभामा यस्तो घटना भएको हो। सभापछि सदस्यलाई खाद्य सामग्रीसहितको उपहार बाँडिएको थियो। त्यसमध्ये चिउराको म्याद १२ देखि १३ दिनअघि नै सकिएको भेटिएपछि सदस्यहरूले विरोध जनाएका थिए।

विवाद बढेपछि नजिकैको प्रहरी प्रभागबाट टोलीसमेत सभास्थल पुगेको थियो। म्याद गुज्रिएको चिउरा फिर्ता गरेर नयाँ दिने सहमति भएपछि विवाद साम्य भएको बताइएको छ।

सहकारीकी सचिव किरण मोक्तानले चिउराको म्याद सकिएको स्वीकार गरेकी छन्। उनले भनिन्, ‘हामीले शेयर सदस्यलाई चिउरा उपहार दिएका थियौँ। त्यसको म्याद १२–१३ दिन नाघेको रहेछ। त्यही विषयमा सामान्य विवाद भएको हो।’

मोक्तानका अनुसार उक्त चिउरा सहकारीले आफैँ उत्पादन गरेको नभई बजारबाट खरिद गरेर ल्याइएको थियो। म्याद सकिएको जानकारी नभएको बताउँदै उनले सबै सदस्यलाई चिउरा साट्न आउन सन्देश पठाइसकेको जानकारी दिइन्।

सहकारीका अध्यक्ष डा. केशवप्रसाद श्रेष्ठले पनि चिउराको म्याद सकिएको स्वीकार गरेका छन्। उनका अनुसार उपहारका लागि ६–७ सय प्याकेट चिउरा ल्याइएको थियो। उनले भने, ‘त्यसको म्याद सकिएको रहेछ। हामीले पनि हेरेनौँ। त्यही विषयलाई लिएर वादविवाद भएको हो। चिउरा फिर्ता ल्याउन भनिसकेका छौँ।’

अध्यक्ष र सचिवको भनाइमै चिउरा सहकारीकै उत्पादन हो वा बाहिरबाट खरिद गरिएको हो भन्नेमा फरक देखिएको छ। सचिवले बजारबाट किनेर ल्याइएको बताउँदा अध्यक्षले आफ्नै उत्पादन भएको बताएका छन्।

सहकारीले यसअघि साधारण सभामा सदस्यलाई उपहारस्वरूप नगद दिने गरेको थियो। सरकारले नगद वितरणमा रोक लगाएपछि यसपटक खाद्य सामग्रीसहितको उपहार दिने व्यवस्था गरिएको बताइएको छ।

पीआरवालालाई राजदूत!

काठमाडौं। सुशासनको डंका पिट्दै आएको बालेन सरकारको राजदूत सिफारिसमै प्रश्न उठेको छ। सरकार एकातिर एनजिओमाथि छानबिन गर्न समिति बनाउँछ, अर्कोतिर एनजिओमा आबद्ध र विदेशी पीआर लिएका व्यक्तिलाई राजदूतमा सिफारिस गर्छ।

असोज २ गतेको मन्त्रिपरिषद्ले भारत, चीन, अमेरिका, जापानसहित १३ देशका लागि राजदूत सिफारिस गर्‍यो। जापानका लागि प्रस्तावित जिग्यानकुमार थापाको नाम आएपछि भने सरकारको आफ्नै मापदण्ड सम्झाइएको छ।

परराष्ट्र मन्त्रालयले २०८३ जेठ १४ गते निकालेको विज्ञापनमा स्पष्ट थियो – राजदूत बन्ने व्यक्तिले कुनै विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति (पीआर) वा अध्यागमन सुविधा लिएको हुनुहुँदैन। तर थापाले सन् २०१८ मै जापानको पीआर लिएको दाबी गरिएको छ।

सन् २००० मा जापान पुगेका थापा लामो समयदेखि नेपाल–जापान सम्बन्धसँग जोडिएका गतिविधिमा सक्रिय छन्। कानागावा इन्टरनेशनल फाउण्डेशनसँग आबद्ध उनी जापानमा नेपाली समुदायसम्बन्धी काममा समेत संलग्न रहेको बताइन्छ। उनकी श्रीमती यशोदा बस्नेत जापानमा नेपाली भाषाको विद्यालय चलाउँछिन्।

नेपालबाट जापान जाने विशिष्ट व्यक्तिको भ्रमणमा थापाले दोभाषेको काम गर्दै आएको स्रोतको दाबी छ। राष्ट्रपति रामवरण यादवदेखि तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसम्मको भ्रमणमा उनले भाषिक सहजीकरण गरेको बताइएको छ।

यहीँ अर्को विरोधाभास देखिन्छ। सरकारले विदेशी सहयोगमा सञ्चालित एनजिओको गतिविधि छानबिन गर्न समिति बनाएको छ। सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक झडपमा विदेशी रकम प्रयोग भएको आशंकापछि बनेको समितिले एक महिनामा प्रतिवेदन दिने भनिए पनि तीन महिना पुग्न लाग्दा प्रतिवेदन आएको छैन।

तर एनजिओसँग जोडिएका व्यक्तिलाई राजदूतको टिकट दिन भने सरकारलाई त्यति समय लागेन।

उता, विदेशस्थित नेपाली नियोगका दरबन्दी कटौतीले कूटनीतिज्ञलाई अर्को तनाव दिएको छ। नयाँदिल्ली र बेइजिङका आर्थिक मामिला हेर्ने पद कटौतीमा परेका छन्। चार वर्षका लागि गएका कर्मचारीलाई कार्यकाल नसकिँदै फर्किन भनिएको छ।

छोराछोरीसहित विदेश पुगेका कर्मचारीलाई शैक्षिक सत्रकै बीचमा फर्काउँदा परिवार कहाँ जाने, बच्चालाई कहाँ पढाउने भन्ने प्रश्न उठेको छ।

सान फ्रान्सिस्कोस्थित नेपाली वाणिज्यदूतावास स्थापना गर्न गएका लक्ष्मण खनालसमेत आधा कार्यकाल नपुग्दै फर्किनुपर्ने अवस्थामा छन्। डेनमार्कलगायत अन्य नियोगबाट पनि कर्मचारी फिर्ता बोलाउने तयारी छ।

राजदूत छान्दा आफ्नै विज्ञापनको मापदण्ड कता पुग्यो ? नियोगका कर्मचारी फर्काउँदा उनीहरूको परिवार र जिम्मेवारी कता पुग्यो ? बालेन सरकारतर्फ प्रश्नहरूको वाण तेर्सिएको छ।

कांग्रेस महाधिवेशनमा ओली नजाने, प्रचण्ड जाने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।

ओलीको सट्टा एमालेका महासचिव शंकर पोखरेल महाधिवेशनमा सहभागी भएर शुभकामना दिने तय भएको एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए ।

कांग्रेसको १५औँ महाधिवेशन आज आइतबार दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ ।

यसैबीच, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । प्रचण्डको सचिवालयका अनुसार अहिलेसम्म उनी सहभागी हुने कार्यक्रम तय भएको छ । सचिवालयले आकस्मिक परिस्थिति नआए प्रचण्ड महाधिवेशनमा जाने जनाएको छ ।

कांग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन अधिकांश राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको जनाएको छ ।

कांग्रेसको १५औ महाधिवेशन: खुलामञ्चमा तयारी पूरा [तस्वीरहरू]

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आज काठमाडौंको खुलामञ्चमा हुँदैछ। दिउँसो २ बजे हुने उद्घाटनका लागि मञ्च निर्माणदेखि कुर्सी व्यवस्थापन र झण्डा राख्नेसम्मका काम पूरा भएका छन्।

महाधिवेशन उद्घाटनस्थलमा आवश्यक तयारी पूरा भएसँगै खुलामञ्चमा चहलपहल बढेको छ। देशभरबाट आएका महाधिवेशन प्रतिनिधि तथा नेताहरूको उपस्थितिमा पार्टीको नयाँ नेतृत्व चयन र भावी राजनीतिक दिशाबारे छलफल अघि बढ्नेछ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार यस महाधिवेशनमा ७ हजार ५०० भन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ। उद्घाटन समारोहमा पार्टी सभापति गगनकुमार थापासहित कांग्रेसका शीर्ष नेता र अन्य राजनीतिक दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

उद्घाटनपछि सोमबार र मंगलबार बन्दसत्र तथा अन्य कार्यक्रम सञ्चालन हुनेछन्। पार्टीको नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन गर्ने तालिका छ।


 

कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने विजय सम्बाहाम्फेको घोषणा

काठमाडौँ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का पूर्वअध्यक्ष विजय सम्बाहाम्फेले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँमा सुरु हुँदैछ। सोमबार उम्मेदवारको मनोनयनको कार्यक्रम तोकिएको छ। सम्बाहाम्फेले आदिबासी जनजातितर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए।

तेह्रथुमको फेदाप गाउँपालिका-३ जलजलेमा जन्मिएका सम्बाहाम्फे काठमाडौँको लोयल्टी स्कुलका संस्थापक सञ्चालक हुन्। उनी हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-९ का बासिन्दा हुन्। शिक्षा, पर्यटन, कृषि, जलविद्युत र वित्तीय संस्थाहरूमा आवद्ध रहेर देश र समाजकालागि सेवा गर्दै आएका उनी केही समयदेखि तेह्रथुमबाट कांग्रेसको राजनीति पनि गर्दै आएका छन्।

उनी नेपाली कांग्रेस तेह्रथुमको कोषाध्यक्ष भइसकेका नेता हुन्। यसअघि ०७४ को निर्वाचनमा उनी तेह्रथुम प्रदेशसभा क्षेत्र-२ बाट उम्मेदवार थिए।

पार्टीको केन्द्रीय सूचना तथा सञ्चार विभागको सदस्य, पेशागत तथा बुद्धिजीवी विभागको सचिव भइसकेका उनी यसअघि राष्ट्रिय उच्च शिक्षा आयोगको सदस्य समेत भएका थिए।

तीन उपसभापति भए भीष्मराज आङ्देम्बेले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको विधान संशोधन गरी तीन जना उपसभापतिको व्यवस्था भए उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनले विधान संशोधन गरी उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको संख्या थप गर्ने चर्चा भइरहेका बेला आङ्देम्बेको उम्मेदवारी तयारीबारे विवतरण सार्वजनिक भएको हो ।

‘पार्टीको विधान संशोधन गरी उपसभापतिको संख्या तीन बनाउँदा उहाँ उपसभापति पदको उम्मेदवार बन्नुहुन्छ,’ उनी निकट स्रोतले भन्यो ।

आङ्देम्बे यसअघि कांग्रेसका सहमहामन्त्री थिए । हाल उनी पार्टीको संसदीय दलको नेता छन् । संसदीय दलको नेता बनेपछि उनी १५औँ महाधिवेशनमा कुन पदमा उम्मेदवारी दिन्छन् भन्ने चासो बढेको थियो ।

यस्तोमा, विधान संशोधनमार्फत तीन उपसभापति पदको व्यवस्था गरिए उक्त पदमा उम्मेदवार दिने भएका हुन् । कांग्रेसमा हाल दुई जना उपसभापतिको व्यवस्था छ ।

कांग्रेस सहमहामन्त्रीमा सीता गुरुङको उम्मेदवारी घोषणा

काठमाडौँ। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सीता गुरुङले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँमा सुरु हुँदैछ। महाधिवेशनअन्तर्गत सोमबार केन्द्रीय कार्यसमितिको लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। तीन कार्यकाल केन्द्रीय सदस्य भएर अनुभव बटुलिसकेकी युवा नेता गुरुङले यसपटक सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

उनी तेह्रथुमबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आएकी छन्। आठराई गाउँपालिका-४, साविक इवामा जन्मिएकी गुरुङले तेह्रथुमबाटै विद्यार्थी राजनीति सुरु गरेकी थिइन्।

नेपाल विद्यार्थी संघको जिल्ला कोषाध्यक्ष र नेपाल महिला संघको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सचिवसम्म बनेकी गुरुङ ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेह्रथुमबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्। त्यही कार्यकालमा उनी ११ महिना सहरी विकासमन्त्री समेत भइन्।

०७४ को निर्वाचनमा भने उनी तेह्रथुमबाट पराजित भएकी थिइन्। दुवै संविधानसभामा सदस्य रहेकी गुरुङ २०७४ मा कांग्रेस नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री समेत भएकी थिइन् । उनले संविधान मस्यौदा समितिको सदस्य भएर समेत काम गरेकी थिइन्।

पार्टीमा आदिबासी जनजाति विभागको प्रमुख भएर समेत काम गरिसकेकी उनी यसअघि क्रियाशील सदस्यतासम्बन्धी तत्कालीन महामन्त्री गगनकुमार थापा संयोजकत्वको कार्यदलमा सदस्य थिइन्।

कांग्रेसको संगठनमा लामो समय काम गरिसकेकी गुरुङ नेपालमा सामाजिक समावेशीकरण, महिला र आदिबासी जनजाति आन्दोलन तथा सीमान्तकृत समुदायको अधिकारका सवालमा समेत निरन्तर सक्रिय रुपमा वकालत गर्दै आएकी छन्।

कांग्रेसको विधानबमोजिम हाल ११ जना सहमहामन्त्री हुने व्यवस्था छ। त्यसमध्ये आठ जना विभिन्न समावेशी समूहबाट निर्वाचित भएर आउने छन् भने तीन जना मनोनीत हुनेछन्।

गुरुङले महिला वा आदिबासी जनजातितर्फ सहमहामन्त्रीमा आफ्नो उम्मेदवारी हुने बताएकी छन्। ‘पार्टीको नेतृत्वसँग छलफल भइरहेको छ। म महिला वा आदिवासी जनजाति दुवैतर्फ सहमहामन्त्रीको लागि तयार छु, नेताहरू र आफ्नै साथीहरूको सल्लाह सुझाव लिएर अघि बढ्नेछु,’ उनले भनिन्।

कांग्रेस हाँकेका आठ सभापति (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसको आठ दशक लामो राजनीतिक इतिहासमा अहिलेसम्म आठ जना नेताले सभापतिको जिम्मेवारी सम्हालेका छन् ।

राणा शासनविरुद्धको संघर्षबाट स्थापित कांग्रेसको नेतृत्व परिवर्तन मुलुकको राजनीतिक परिवर्तनसँग पनि जोडिँदै आएको छ ।

कांग्रेसको पहिलो सभापति टंकप्रसाद आचार्यदेखि वर्तमान सभापति गगनकुमार थापासम्मको नेतृत्व यात्रा यसप्रकार छ ।

१. टंकप्रसाद आचार्य

नेपाली कांग्रेसका पहिलो सभापति टंकप्रसाद आचार्य हुन् । २००३ सालमा कलकत्ताको भवानीपुरमा भएको महाधिवेशनबाट उनी सभापति बनेका थिए । कांग्रेस स्थापनाअघिको राजनीतिक संगठन निर्माण र राणा शासनविरुद्धको संघर्षमा उनको भूमिका थियो ।

२. बीपी कोइराला

आचार्यपछि बीपी कोइरालाले कांग्रेसको नेतृत्व सम्हाले । उनी कांग्रेसको सभापति तीनपटक बने । २०१५ सालको पहिलो आमनिर्वाचनमा कांग्रेसले बहुमत पाएपछि बीपी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । २०१७ सालमा राजा महेन्द्रले निर्वाचित सरकार हटाएपछि उनी पञ्चायतविरुद्धको संघर्षमा सक्रिय रहे ।

३. मातृकाप्रसाद कोइराला

बीपीपछि मातृकाप्रसाद कोइराला कांग्रेसको तेस्रो सभापति बने । उनले दुईपटक पार्टीको नेतृत्व गरे । कांग्रेसको प्रारम्भिक राजनीतिक विकासमा उनको नेतृत्व महत्वपूर्ण मानिन्छ ।

४. सुवर्णशमशेर राणा

त्यसपछि सुवर्णशमशेर राणाले कांग्रेसको नेतृत्व सम्हाले । राणा परिवारमा जन्मिएका उनी राणा शासनविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय थिए । कांग्रेसको संगठन र प्रजातान्त्रिक संघर्षमा उनको महत्वपूर्ण भूमिका रह्यो ।

५. कृष्णप्रसाद भट्टराई

पञ्चायतविरुद्धको संघर्षको महत्वपूर्ण चरणमा कृष्णप्रसाद भट्टराईले कांग्रेसको नेतृत्व गरे । उनी २०४४ सालमा सभापति बने । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्था पुनःस्थापित भयो र भट्टराई प्रधानमन्त्री बने ।

६. गिरिजाप्रसाद कोइराला

भट्टराईपछि गिरिजाप्रसाद कोइरालाले कांग्रेसको नेतृत्व सम्हाले । उनले लामो समय पार्टीको नेतृत्व गरे । उनको राजनीतिक यात्रा बहुदलीय व्यवस्थाको पुनःस्थापनादेखि माओवादी शान्ति प्रक्रिया र गणतन्त्र स्थापनासम्मका महत्वपूर्ण घटनासँग जोडिएको छ ।

७. सुशील कोइराला

१२औँ महाधिवेशनबाट सुशील कोइराला कांग्रेस सभापति बने । उनको नेतृत्वमा संविधान निर्माणको प्रक्रिया अघि बढ्यो । २०७२ सालमा संविधान जारी हुँदा उनी नेपालको प्रधानमन्त्री थिए ।

८. शेरबहादुर देउवा

१३औँ महाधिवेशनबाट शेरबहादुर देउवा कांग्रेस सभापति बने । १४औँ महाधिवेशनबाट उनी दोस्रो कार्यकालका लागि पनि निर्वाचित भए । लामो समय पार्टीको नेतृत्व गरेका देउवा गत वर्षको पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि नेतृत्वबाट अलग भए ।

९. गगनकुमार थापा

विशेष महाधिवेशनबाट गगनकुमार थापा कांग्रेसको सभापति बने । उनको नेतृत्वमा कांग्रेस अहिले १५औँ महाधिवेशनमा प्रवेश गरेको छ ।

व्यवस्था बदल्दै आएको कांग्रेस अब आफैँ बदलिने मोडमा

काठमाडौं । नेपाली कांग्रेसको स्थापना नेपालको राजनीतिक इतिहासमा राणा शासनविरुद्धको संघर्षसँग जोडिएको छ ।

निरंकुश राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले संघर्षरत राजनीतिक शक्तिहरूबीचको एकताबाट कांग्रेसको जन्म भएको हो ।

कांग्रेसको इतिहासबारे जानकार डा. जगत नेपालका अनुसार नेपाली कांग्रेस स्थापना हुनुअघि नेपालमा राणा शासनविरुद्ध विभिन्न राजनीतिक समूहले अलग–अलग रूपमा आन्दोलन गरिरहेका थिए । ती शक्तिहरूलाई एउटै राजनीतिक धारमा ल्याउने प्रयासस्वरूप कांग्रेसको आधार तयार भएको थियो ।

नेपालमा प्रजातन्त्रका लागि संगठित राजनीतिक आन्दोलनको आवश्यकता महसुस भइरहेका बेला २००३ सालमा भारतको बनारसमा नेपाली राष्ट्रिय कांग्रेस गठन भएको थियो । यसले राणा शासनविरुद्ध राजनीतिक तथा संगठित आन्दोलन अघि बढायो ।

त्यसैगरी, सुवर्णशमशेर राणाको नेतृत्वमा नेपाल प्रजातन्त्र कांग्रेस गठन भएको थियो । यी दुवै राजनीतिक संगठनको मुख्य उद्देश्य राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना गर्नु थियो ।

दुई संगठनले छुट्टाछुट्टै रूपमा संघर्ष गरिरहेका बेला राणा शासनविरुद्धको आन्दोलनलाई थप प्रभावकारी बनाउन एकता आवश्यक रहेको महसुस भयो । त्यसपछि २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता भयो ।

यही एकताबाट नेपाली कांग्रेसको औपचारिक स्थापना भयो । बीपी कोइराला, मातृकाप्रसाद कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंहलगायतका नेताहरू कांग्रेसको प्रारम्भिक नेतृत्वमा थिए ।

कांग्रेस स्थापनाको मुख्य राजनीतिक उद्देश्य राणा शासन अन्त्य गर्नु र नेपालमा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्नु थियो । पार्टी गठनसँगै राणा शासनविरुद्धको आन्दोलन थप संगठित बन्दै गयो ।

कांग्रेस स्थापना भएको केही समयमै २००७ सालको जनक्रान्ति भयो । कांग्रेसले राणा शासनविरुद्ध सशस्त्र तथा राजनीतिक आन्दोलन अघि बढायो । आन्दोलनको दबाब बढ्दै गएपछि राणा शासन अन्त्य भयो । २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापना भयो ।

त्यसपछि कांग्रेसले मुलुकको संसदीय राजनीतिमा सक्रिय भूमिका खेल्यो । २०१५ सालको पहिलो आमनिर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गर्‍यो । बीपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने ।

तर, २०१७ सालमा तत्कालीन राजा महेन्द्रले निर्वाचित सरकार र संसद् विघटन गर्दै पञ्चायती व्यवस्था सुरु गरेपछि कांग्रेस पुनः संघर्षमा फर्कियो । त्यसपछि लामो समयसम्म कांग्रेसले पञ्चायतविरुद्ध आन्दोलन गर्‍यो ।

२०४६ सालको जनआन्दोलनमार्फत बहुदलीय व्यवस्था पुनःस्थापित भयो । त्यसपछि २०६२/६३ को जनआन्दोलन हुँदै मुलुक गणतन्त्रतर्फ अघि बढ्यो । २०६५ जेठ १५ गते नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भयो ।

यसरी राणा शासनविरुद्ध प्रजातन्त्रका लागि सुरु भएको राजनीतिक एकताबाट जन्मिएको कांग्रेसले नेपालको राजनीतिक परिवर्तनका विभिन्न चरणमा भूमिका निर्वाह गर्दै आएको छ ।

डा. नेपालका अनुसार कांग्रेसको स्थापना आफैँमा राजनीतिक एकताको परिणाम थियो । ‘राणा शासनविरुद्ध संघर्ष गरिरहेका शक्तिहरूबीचको एकताबाट कांग्रेस बनेको हो । त्यसैले कांग्रेसको स्थापना नै राजनीतिक परिवर्तनको अभियानसँग जोडिएको छ,’ उनले भने ।

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, नेतृत्वसँगै नीतिमा बहस

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा दिउँसो २ बजे महाधिवेशनको उदघाटन हुने प्रवक्ता देवराज चालिसले बताए ।

यही २२ असोजसम्म हुने महाधिवेशनले नेतृत्व चयनसँगै नीति पनि तय गर्ने भएको छ । महाधिवेशनको उदघाटनमा निवर्तमान सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिको रुपमा सभापति गगन थापाले आमन्त्रण गरेका छन् । तर, देउवा आउने निश्चित छैन ।

कांग्रेस त्यो शक्ति हो, जसले राणा शासनविरुद्ध सशस्त्र क्रान्ति गर्‍यो । निरंकुश पञ्चायतविरुद्ध लड्यो । राजतन्त्र अन्त्यको आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्यो ।

सोही गर्विलो राजनीतिक इतिहास भएको कांग्रेस नयाँ नेतृत्व, नयाँ नीति र बदलिएको सांगठनिक संरचना तय गर्ने उद्देश्यसहित आज महाधिवेशनमा होमिँदै छ ।

महाधिवेशनका लागि देशभरबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आएका छन्् । यसपटक महाधिवेशनमा सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ ।

प्रवक्ता चालिसेका अनुसार महाधिवेशनको तयारी पूरा भएको छ । शनिबार खुलामञ्चमा आयोजित पत्रकार सम्मेलनमा उनले यसपटकको महाधिवेशनलाई नेतृत्व चयनमा मात्रै सीमित नराखेर नीति चयनको अधिवेशन बनाउने प्रयास भइरहेको बताए ।

‘यो अधिवेशन नेता चयनभन्दा नीति चयनको अधिवेशनका रूपमा परिणत गर्ने प्रयत्न गर्नेछौँ,’ चालिसले पत्रकारहरूसँग भने ।

कांग्रेसले बीपी कोइरालाको विचारलाई बदलिएको नेपालको आवश्यकतासँग जोडेर आगामी राजनीतिक बाटो तय गर्ने उनको भनाइ छ । आधुनिक र प्रविधियुक्त नेपालको परिकल्पनालाई बीपीको विचारसँग जोड्ने उद्देश्य रहेको उनले बताए ।

‘हामी यो महाधिवेशनबाट बीपीको विचारसँग आधुनिक र प्रविधियुक्त नेपालको परिकल्पना जोड्छौँ र अघि बढ्छौँ,’ उनले भने ।

कांग्रेसले १५औँ महाधिवेशनलाई विगतका महाधिवेशनभन्दा केही फरक बनाउने दाबी गरेको छ ।

प्रवक्ता चालिसेका अनुसार यसपटक नेतृत्व चयनसँगै आगामी पाँच वर्षको नीति स्पष्ट बनाउने प्रयास हुनेछ ।

महाधिवेशन उद्घाटनपछि हुने बन्दसत्रमा राजनीतिक, आर्थिक, सामाजिक, सांगठनिक तथा परराष्ट्र नीतिसम्बन्धी विषयमा छलफल हुनेछ ।

सभापति गगनकुमार थापाले आगामी पाँच वर्षका लागि कांग्रेसको राजनीतिक दिशा समेटिएको कार्यपत्र प्रस्तुत गर्ने तयारी गरेका छन् । त्यसमा अर्थतन्त्र, उत्पादन, रोजगारी, परराष्ट्र नीति र शासन व्यवस्थासम्बन्धी विषय समेटिने कांग्रेसले जनाएको छ ।

उपसभापति विश्वप्रकाश शर्माले पनि समसामयिक राजनीतिक परिस्थितिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।

कांग्रेसभित्र लामो समयदेखि महाधिवेशनलाई नेतृत्व चयनमा बढी केन्द्रित गरिएको र नीति बहस कमजोर भएको आलोचना हुँदै आएको छ ।
यसपटक पार्टी नेतृत्वले भने महाधिवेशनलाई नीति निर्माणको थलो बनाउने बताएको छ ।

अदलीबदली गर्दै कांग्रेस

१५औँ महाधिवेशनले कांग्रेसको नेतृत्व मात्रै होइन, सांगठनिक संरचनासमेत परिवर्तन गर्ने भएको छ । महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले पार्टीका विभिन्न तहबाट सुझाव संकलन गरेको छ ।

पदाधिकारी संख्या बढाउनुपर्ने प्रस्तावसमेत समितिमा पुगेको छ । विशेषगरी युवालाई पार्टीको माथिल्लो नेतृत्वमा ल्याउनुपर्ने, महिलाको प्रतिनिधित्व बढाउनुपर्ने र खुला सहमहामन्त्रीको व्यवस्था गर्नुपर्ने सुझाव आएको नेताहरूले बताएका छन् ।

विधान संशोधन समितिका सदस्य सचिव प्रताप पौडेलले युवा र महिलाको प्रतिनिधित्व बढाउन दबाब रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘यो पटक ३५ वर्षमुनिका युवाको ठूलो संख्या प्रवेश भएको छ । उनीहरूलाई समेत पदाधिकारीमा ल्याउनुपर्ने सुझाव आएको छ ।’

हालको विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र विभिन्न क्लस्टरबाट आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

सभापतिले थप तीन सहमहामन्त्री र एक कोषाध्यक्ष मनोनयन गर्न सक्ने व्यवस्था पनि छ । अब उपसभापति, महामन्त्री र सहमहामन्त्रीको संख्या थप्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

यद्यपि विधान संशोधनका सबै प्रावधान यही महाधिवेशनबाट कार्यान्वयन हुन्छन् वा केही व्यवस्था आगामी महाधिवेशनबाट लागू हुन्छन् भन्ने टुंगो लाग्न बाँकी छ ।

यसबीच प्रतिनिधि दर्ताको काम पनि सुरु भइसकेको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा प्रदेशअनुसार छुट्टाछुट्टै स्थानबाट नाम दर्ता भइरहेको हो ।

प्रत्येक प्रतिनिधिले तीन हजार पाँच सय रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।दर्तापछि प्रतिनिधिलाई झोला, पार्टी विधान, डायरी, कलम, परिचयपत्र र खाना तथा खाजाका कुपन उपलब्ध गराइएको छ ।

महाधिवेशन प्रतिनिधिलाई महाधिवेशनसम्बन्धी सूचना क्यूआर कोड र एसएमएसमार्फत उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।

कांग्रेसले प्रतिनिधिको बसोबासका लागि काठमाडौंको गौशाला, कोटेश्वर, ठमेल, लाजिम्पाट, नयाँ बसपार्क, बालाजु, सुन्धारा र कलंकी क्षेत्रका होटलसँग समन्वय गरेको छ ।
तर, होटल खर्च प्रतिनिधिले आफैँ बेहोर्नुपर्नेछ । विदेशबाट आउने पाहुनाको आवास खर्च भने पार्टीले बेहोर्ने जनाएको छ ।

प्रतिनिधिका लागि बिहान र दिउँसोको खाना पार्टीले उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

महाधिवेशनस्थलमा स्वास्थ्य सेवाका लागि चिकित्सक, नर्स र पारामेडिक्ससहित हेल्थ डेस्क पनि राखिने भएको छ । आकस्मिक अवस्थाका लागि एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिने कांग्रेसले जनाएको छ ।

कांग्रेसको कोशी प्रदेश सचेतक लावती महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेश कांग्रेस संसदीय दलका सचेतक मैयाँ श्रेष्ठ लावती पाँचथरबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन् ।

उनी महिला खुला कोटामा सर्वाधिक मतसहित निर्वाचित भएकी हुन् ।

निर्वाचित उनले १०५० मत प्राप्त गरेकी थिइन् । उनी नेपाली कांग्रेसको पाँचथर प्रदेश सभा ‘ख’ को निवर्तमान सभापति पनि हुन् ।

युवा सांसद लावती पहिलोपटक महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन् ।

यससँगै उनले आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने महाधिवेशनमा प्रतिनिधि बन्दै मताधिकार सुरक्षित गरेकी छन् ।

 

कांग्रेस केन्द्रीय सदस्यमा नेता पूर्णकुमार तुम्बापोको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता पूर्णकुमार तुम्बापोले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

उनले आदिवासी जनजाति ‘क्लस्टर’बाट उम्मेदवारी घोषणा गरेका हुन् ।

शनिबार काठमाडौंको सिनामंगलमा पत्रकार सम्मेलन गर्दै नेता तुम्बापोले उम्मेदवारी घोषणासँगै छ बुँदे एजेण्डा पनि सार्वजनिक गरे ।

अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन, समावेशी प्रतिनिधित्व, सुदृढ संगठन, सहमति, सहकार्य र एकता, नयाँ सोच र जिम्मेवार नेतृत्व तथा समृद्ध र सम्मुनत नेपाल निर्माण उनका एजेण्डा हुन् ।

उनी ३० वर्षदेखि कांग्रेस राजनीतिमा सक्रिय छन् । २०५३ सालमा मेची बहुमुखी क्याम्पस झापाबाट नेविसंघको राजनीति थालेका उनी नेविसंघमा केन्द्रीय सदस्यसम्म भए ।

त्यसपछि उनी पार्टीको राजनीतिमा क्रियाशील भए । उनी कांग्रेसको पाँचथर जिल्ला सदस्य हुँदै पार्टीको कोशी प्रदेश समिति सदस्य पनि भए ।

यसअघि पार्टीको महासमिति सदस्य बनेका उनी यसपटक महाधिवेशन प्रतिनिधि हुँदै केन्द्रीय सदस्यको उम्मेदवार बनेका हुन् ।

गणितमा एम.एस.सी. र राजनीतिशास्त्रमा एम.ए. गरेका तुम्बापो बौद्धिक नेता हुन् । उनको घर पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–५, चोकमागु हो ।

वरिष्ठ पत्रकार हरि लम्सालको निधन

काठमाडौं । वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा निधन भएको छ।

फोक्सोसम्बन्धी समस्या भएपछि ह्याम्स अस्पतालमा उपचाररत लम्सालको उपचारकै क्रममा निधन भएको हो।

लम्साल नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाका पूर्वसभापति थिए। लामो समय पत्रकारितामा सक्रिय उनले साप्ताहिक ‘राष्ट्रवाणी’को सम्पादकीय नेतृत्वसमेत गरेका थिए। उपलब्ध अभिलेखमा पनि उनी ‘राष्ट्रवाणी’का प्रकाशक तथा सम्पादकका रूपमा उल्लेख छन्।

नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तारानाथ दाहालले लम्सालको निधनप्रति दुःख व्यक्त गर्दै उनी नेपाली पत्रकारितामा पाँच दशकभन्दा बढी समय सक्रिय रहेको स्मरण गरेका छन्।

लम्सालका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

कुलेखानी बाँधमा मन्त्री श्रेष्ठको निरीक्षण, ‘ड्याम स्टेबल छ’

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको बाँधको स्थलगत निरीक्षण गरेका छन् ।

असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षापछि कुलेखानी जलाशयमा बढेको पानीको सतह र बाँधको अवस्थाबारे जानकारी लिन मन्त्री श्रेष्ठ शनिबार असोज १७ गते कुलेखानी पुगेका हुन् ।

निरीक्षणका क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितका अधिकारीले जलाशय, बाँध र विद्युत् केन्द्रको अवस्थाबारे मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।

निरीक्षणपछि मन्त्री श्रेष्ठले कुलेखानी बाँध सुरक्षित र अवस्था सामान्य रहेको बताए । भारी वर्षाका क्रममा बाँधमा २४ सै घण्टा निगरानी राखिएको तथा तल्लो तटीय क्षेत्रमा समेत सूचना प्रवाह गरी सतर्कता अपनाइएको उनले बताए ।

‘जलाशयको सतह व्यवस्थापन गर्ने, २४ सै घण्टा निगरानी राख्ने तथा तल्लो तटीय क्षेत्रमा सूचना प्रवाह गरी अलर्ट अवस्थामा राख्ने काम गरिएको थियो,’ उनले भने, ‘अहिले हेर्दा अवस्था व्यवस्थापन भएको छ । ड्याम स्टेबल छ ।’

भारी वर्षाका कारण नेपालको विद्युत् प्रणालीको ‘ब्याकअप’का रूपमा रहेको कुलेखानी जलविद्युत् केन्द्रमा समेत प्रभाव परेको उनले बताए ।

कुलेखानी जलाशयमा पर्याप्त पानी रहेकाले आगामी सुक्खा मौसममा विद्युत् आपूर्ति व्यवस्थापनमा सहज हुने मन्त्री श्रेष्ठको भनाइ छ ।

‘आज कुलेखानी जलाशय तथा विद्युत् केन्द्रको स्थलगत अध्ययन गर्‍यौँ । बाँधको वर्तमान अवस्था र जलाशयमा रहेको पानीको सतह हेर्दा आगामी सुक्खा मौसममा विद्युत् आपूर्ति व्यवस्थापनमा थप सहजता हुने विश्वास बढेको छ,’ उनले भने ।

ऊर्जा सुरक्षालाई बलियो बनाउँदै भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न सरकार सक्रिय रहेको उनले बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले कुलेखानी विद्युत् प्रणालीका लागि महत्वपूर्ण आयोजना भएको बताए । उनका अनुसार यसले विद्युत् प्रणालीमा ‘पिकिङ’का लागि समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

‘सिस्टम अपरेसनको दृष्टिकोणबाट कुलेखानीको ठूलो योगदान रहिआएको छ,’ उनले भने ।

मन्त्री श्रेष्ठको सचिवालयका अनुसार निरीक्षणपछि कुलेखानी बाँधको अवस्था सामान्य र सुरक्षित रहेको पाइएको छ ।

 

‘१२ गाउँ २’ को ‘लालीगुराँस’ गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘१२ गाउँ २’ को नयाँ गीत ‘लालीगुराँस’ सार्वजनिक गरिएको छ । गीतमा शिव परियार र सारोही कुमारको स्वर रहेको छ भने शब्द तथा संगीत युग भुसालको रहेको छ ।

प्रेम भावमा आधारित गीतमा प्रकृतिलाई बिम्बका रूपमा प्रयोग गर्दै प्रेमी-प्रेमिकाबीचको समर्पणलाई प्रस्तुत गरिएको छ । एकअर्काप्रति आकर्षित युवक र युवतीको प्रेम तथा समर्पणलाई गीतको भावमा समेटिएको छ ।

त्यस्तै, गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार समीर भट्ट र कृशु शाहीको नृत्य देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

बिराज भट्टको निर्देशनमा बनेको ‘१२ गाउँ २’ असोज ३० गते फूलपातीका दिनदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

चलचित्रमा समीर भट्ट र कृशु शाहीसँगै निर्देशक बिराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ ।

यसै चलचित्रमार्फत कृशु शाही र वर्षा इटनीले नेपाली चलचित्रमा डेब्यु गर्दैछन् । बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुति रहेको चलचित्रको कथा सन्तोष सरकारले लेखेका हुन् भने छायांकन महेश पौडेलको रहेको छ ।

चलचित्रमा युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन तथा रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन रहेको छ । द्वन्द्व निर्देशन सिल्भा र शंकर महर्जनले गरेका छन् ।

साथै, चलचित्रको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन् ।

 

लेटाङमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

मोरङ । मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

लेटाङ नगरपालिका–९ हात्तीचोकस्थित भित्री सडकखण्डमा शुक्रबार राति जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे ४ प ७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटना राति करिब १०ः३५ बजे भएको हो।

दुर्घटनामा झापाको घेराबारीका २७ वर्षीय मोटरसाइकल चालक कुमार नेपाली, सोही ठाउँका २५ वर्षीय सन्देश नेपाली र पथरीशनिश्चरे नगरपालिका–८ का ३२ वर्षीय अमर नेपाली घाइते भएका थिए।

कुमारलाई उपचारका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगिएको थियो। उपचारकै क्रममा राति करिब १२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

सन्देशको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा बिहान १२ः०४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते अमरको न्युरो अस्पतालमै उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भारतका सडकमा फेरि ‘ककरोच’!

काठमाडौं। भारतमा केही समयदेखि शान्त देखिएको युवा असन्तुष्टि फेरि सडकमा पोखिएको छ। यसपटक विषय परीक्षा होइन, मतदाता सूची हो। अनि आन्दोलनको अगुवाइमा फेरि उही अनौठो नाम अगाडि आएको छ, ‘ककरोच जनता पार्टी’ अर्थात् सीजेपी।

२ अक्टोबरमा मुम्बई र नयाँदिल्ली दुवै ठाउँमा निर्वाचन आयोगविरुद्ध प्रदर्शन भयो। मुम्बईमा सीजेपीले नेतृत्व गरेको प्रदर्शनमा ठूलो संख्यामा मानिस सहभागी भए।

दिल्लीको जन्तरमन्तर पुग्न खोजेका आम आदमी पार्टी, वाम विद्यार्थी संगठन र नागरिक समाजका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको रिपोर्ट छ। भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीमा ५ सयभन्दा बढी मानिसलाई हिरासतमा लिइएको थियो।

प्रदर्शनको मुख्य निशाना बनेका छन्, प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमार। प्रदर्शनकारीले उनको राजीनामा मागिरहेका छन्।

तर यो झगडाको जड सडकमा होइन, मतदाता सूचीमा छ।

भारतमा निर्वाचन आयोगले मतदाता सूचीको ‘स्पेसियल इन्टेन्सिभ रिभिजन’ अर्थात् एसआईआर प्रक्रिया अघि बढाएपछि विवाद चर्किएको हो।

आयोगको भनाइमा यो मतदाता सूची सफा गर्ने नियमित प्रक्रिया हो। मृतक, दोहोरिएका, स्थान परिवर्तन गरेका वा अन्य कारणले अयोग्य भएका व्यक्तिको नाम हटाउने र योग्य नागरिकलाई सूचीमा राख्ने यसको उद्देश्य हो।

विपक्षी दल र सीजेपीको आरोप भने फरक छ। उनीहरूका अनुसार प्रक्रियाका क्रममा ठूलो संख्यामा योग्य मतदाताको नामसमेत सूचीबाट बाहिरिएको छ।

रिपोर्टअनुसार प्रारम्भिक सूचीबाट करिब १३ करोड नाम छुटेको विषय अहिले सबैभन्दा ठूलो विवाद बनेको छ। यद्यपि प्रारम्भिक सूचीबाट नाम हट्नु स्थायी रूपमा मतदान अधिकार गुम्नु भने होइन। सम्बन्धित व्यक्तिले दाबी र आपत्तिमार्फत नाम सच्याउन सक्ने व्यवस्था छ।

तर यही प्रक्रियाले अर्को प्रश्न खडा गरेको छ,कागजपत्र जुटाउन नसक्ने, बसाइँसराइ गरेका वा दुर्गम क्षेत्रमा रहेका नागरिकले समयमै आफ्नो नाम कसरी जोगाउने ?

यही प्रश्नलाई सीजेपीले सडकको मुद्दा बनाएको छ।

सीजेपीको नाम सुन्दा राजनीतिक दलभन्दा व्यङ्ग्यात्मक समूहजस्तो लाग्छ। यसको सुरुवात पनि त्यस्तै शैलीबाट भएको थियो।

सन् २०२६ मा मेडिकल प्रवेश परीक्षा एनईईटीको प्रश्नपत्र विवाद चर्किएपछि विद्यार्थी असन्तुष्टि सडकमा आयो। करिब २२ लाखभन्दा बढी विद्यार्थीले परीक्षा दिएको उक्त परीक्षामा अनियमितताको आरोप लागेपछि पुनः परीक्षा लिनुपरेको थियो।

त्यही माहोलमा सामाजिक सञ्जालबाट ‘ककरोच जनता पार्टी’ नामको व्यङ्ग्यात्मक अभियान जन्मियो। अभिजीत दिप्केलगायत युवा अभियन्ता यसको प्रमुख अनुहार बने।

अनलाइनको व्यङ्ग्य विस्तारै सडकको आन्दोलनमा परिणत भयो। दिल्लीको जन्तरमन्तरदेखि विभिन्न शहरसम्म विद्यार्थी र युवाहरू जुट्न थाले।

माग थियो, परीक्षा प्रणाली सुधार, प्रश्नपत्र चुहावटको छानबिन र शिक्षा मन्त्रालयको जवाफदेहिता।

अन्ततः २५ जुलाईमा तत्कालीन शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिए। सीजेपीले यही मागलाई आफ्नो आन्दोलनको प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गर्‍यो।

अब त्यही समूह फेरि सडकमा छ। यसपटक परीक्षा हल होइन, निर्वाचन आयोग उसको निशानामा परेको छ।

एसआईआर विवाद चर्किरहेका बेला भारतीय सञ्चारमाध्यम ‘द इन्डियन एक्सप्रेस’को अनुसन्धानात्मक रिपोर्टले निर्वाचन आयोगभित्रको असहमतिसम्बन्धी विवरण सार्वजनिक गर्‍यो।

रिपोर्टअनुसार निर्वाचन आयुक्त सुखबीर सिंह सन्धु र विवेक जोशीले मतदाता सूची, दर्ता प्रक्रिया तथा आयोगको डिजिटल प्रणालीसँग सम्बन्धित विषयमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारसमक्ष १० महिनामा कम्तीमा १४ पटक आपत्ति वा सरोकार राखेका थिए।

त्यसपछि विवाद थप चर्कियो।

आयोगले भने आन्तरिक छलफलमा फरक मत आउनु अस्वाभाविक नभएको बताउँदै आफ्नो प्रक्रिया कानुनअनुसार भएको दाबी गर्दै आएको छ। मतदाता सूचीमा गरिएको काम राजनीतिक उद्देश्यले नभएको उसको भनाइ छ।

तर आन्दोलनकारीले यही विषयलाई आयोगको पारदर्शिता र जवाफदेहितासँग जोडिरहेका छन्।

सेप्टेम्बर २४ मा सीजेपीले ज्ञानेश कुमारलाई राजीनामा दिन ४८ घण्टे अल्टिमेटम दिएको थियो।

राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको सीजेपीले अक्टोबर २ बाट आन्दोलनलाई नयाँ चरणमा पुर्‍यायो।

मुम्बईको शिवाजी पार्कमा सीजेपीको प्रदर्शन भयो। प्रहरीबाट अनुमति नपाएको अवस्थामा पनि प्रदर्शनकारी त्यहाँ पुगे। सीजेपीले निर्वाचन आयोगको नेतृत्व परिवर्तनसँगै एसआईआर प्रक्रियामा पारदर्शिता र सुधारको माग उठाएको थियो।

दिल्लीमा भने जन्तरमन्तर वरिपरि प्रहरीको बाक्लो उपस्थिति थियो। प्रदर्शनकारीहरूलाई बसमा राखेर विभिन्न प्रहरी कार्यालयतर्फ लगिएको रिपोर्ट आएको छ।

यसरी मतदाता सूचीको विवाद अब सडकमा पुगेको छ।

सीजेपी एक्लै छैन। भारतका विपक्षी दलहरू पनि एसआईआर र निर्वाचन आयोगको कार्यशैलीलाई लिएर विरोधमा उत्रिएका छन्।

विपक्षी गठबन्धनले अक्टोबर ६ मा निर्वाचन आयोगतर्फ मार्च गर्ने कार्यक्रमसमेत घोषणा गरेको छ। अक्टोबर २ देखि ८ सम्म विभिन्न ठाउँमा ‘सेभ डेमोक्रेसी’ अभियान चलाउने योजना विपक्षी दलहरूले सार्वजनिक गरेका छन्।

तर सीजेपी र विपक्षी दलको आन्दोलन एउटै संरचना होइन। सीजेपीको अभियानमा युवाको असन्तुष्टि र नागरिक अधिकारको मुद्दा जोडिएको छ भने विपक्षी दलले यसलाई निर्वाचन व्यवस्थापन र लोकतान्त्रिक प्रक्रियासँग जोडिरहेका छन्।

सीजेपीलाई हेर्दा एउटा कुरा प्रस्ट देखिन्छ। यसको मुद्दा फेरिएको छ, तर केन्द्रमा युवा असन्तुष्टि कायमै छ।

पहिले परीक्षा थियो। विद्यार्थीको भविष्य र मेहनतमाथि प्रश्न उठ्यो।

अहिले मतदाता सूची छ। नागरिकको मतदान अधिकार र निर्वाचन प्रक्रियामाथि प्रश्न उठेको छ।

यसै कारण ‘ककरोच’ अभियान एउटा सामान्य विद्यार्थी आन्दोलनबाट विस्तार हुँदै निर्वाचन व्यवस्थापनमाथि प्रश्न उठाउने दबाब समूहका रूपमा देखिन थालेको छ।

सीजेपीका नेता अभिजीत दिप्केले यसपटक लामो आन्दोलनको संकेत गरेका छन्। अक्टोबर २ को प्रदर्शनपछि पनि अभियान नरोकिने उनीहरूको भनाइ छ।

निर्वाचन आयोगका अगाडि पनि अहिले सजिलो अवस्था छैन।

एकातिर मृत, दोहोरिएका वा अयोग्य मतदाताको नाम हटाएर सूची अद्यावधिक गर्नुपर्ने दबाब छ। अर्कोतिर योग्य नागरिकको नाम गल्तीले नहटेको सुनिश्चित गर्नुपर्ने चुनौती छ।

आयोगले विवादपछि मतदाता सूचीमा छुटेका तथा नयाँ योग्य मतदातालाई समावेश गर्ने प्रक्रिया अघि बढाएको छ। साथै सफ्टवेयरबाट देखिएका विवादित विवरणको समीक्षा गर्न प्राविधिक संयन्त्र बनाउने र कतिपय अवस्थामा अधिकारीलाई नागरिकको घरमै पुगेर विवरण संकलन गर्ने व्यवस्था अघि बढाइएको छ।

तर आन्दोलनकारीको माग त्यतिमै रोकिएको छैन। उनीहरू निर्वाचन आयोगको नेतृत्वमै प्रश्न उठाइरहेका छन्।

भारतमा अहिलेको विवाद केवल १३ करोड नाम छुटेको तथ्यांकको बहसमा सीमित छैन। यसको केन्द्रमा एउटा ठूलो प्रश्न छ, निर्वाचनअघि मतदाता सूची कति पारदर्शी र विश्वासिलो छ ?

आयोग भन्छ, सूची शुद्धीकरण आवश्यक छ। विपक्षी र सीजेपी भन्छन्, शुद्धीकरणका नाममा योग्य नागरिक नछुटून्।

यही दुई दाबीबीच भारतीय सडक तातेको हो।

अझ रोचक कुरा के छ भने केही महिनाअघि यही सडकमा परीक्षा प्रश्नपत्रको मुद्दा थियो। त्यतिबेला आन्दोलनकारीले शिक्षा प्रणालीमाथि प्रश्न उठाएका थिए। अहिले त्यही पुस्ता निर्वाचन आयोगतिर औँला उठाइरहेको छ।

त्यसैले ‘ककरोच’को दोस्रो अध्यायलाई अर्को एउटा प्रदर्शन भनेर हेर्न मिल्ने अवस्था छैन। परीक्षा, रोजगारी, नागरिक अधिकार र निर्वाचनजस्ता विषयमा युवाको असन्तुष्टि एउटै ठाउँमा जोडिँदै गएको देखिन्छ।

अधिवेशनको अन्तिम दिन पाँच विधेयक

काठमाडौं । संघीय संसद्को बर्से अधिवेशनको अन्तिम दिन सरकारले पाँच वटा विधेयक संसद्मा दर्ता गराएको छ। सडक सुरक्षा, भवन निर्माण, हवाई सेवा र सुशासनसँग सम्बन्धित विधेयक अन्तिम दिन संसद्मा पुगेका हुन्।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले राष्ट्रिय सडक सुरक्षा विधेयक २०८३ र भवन (दोस्रो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गराएका छन्।

राष्ट्रिय सडक सुरक्षा विधेयकले सडक पूर्वाधार निर्माणमा सुरक्षा मापदण्ड लागू गर्ने तथा सडक दुर्घटनाबाट हुने मानवीय र आर्थिक क्षति घटाउने उद्देश्य लिएको छ। सडक सुरक्षा व्यवस्थापन र सम्बन्धित निकायबीच समन्वयका लागि राष्ट्रिय सडक सुरक्षा परिषद् गठन गर्ने प्रस्ताव पनि विधेयकमा गरिएको छ।

भवन (दोस्रो संशोधन) विधेयकले भवनको योजना, डिजाइन, निर्माण, मर्मतसम्भार तथा सुरक्षा मूल्यांकनलाई व्यवस्थित गर्ने प्रस्ताव गरेको छ। परम्परागत तथा रैथाने निर्माण सीप र सामग्रीको प्रवर्द्धनसँगै विपद् उत्थानशील तथा जलवायु अनुकूल भवन निर्माण प्रणाली विकास गर्ने विषय पनि विधेयकमा समेटिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८३ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८३ संसद्मा दर्ता गराएका छन्।

यी विधेयकमार्फत हवाई सेवा सञ्चालन र नियमनलाई छुट्टाछुट्टै संरचनामा व्यवस्थित गर्ने सरकारको तयारी छ। हालको नागरिक उड्डयन प्राधिकरणअन्तर्गत रहेको सेवा प्रदायक र नियामकको भूमिकालाई अलग गर्ने गरी कानुनी संरचना बनाउन खोजिएको हो।

हवाई सेवा प्राधिकरणसम्बन्धी विधेयकले आधुनिक विमानस्थल पूर्वाधार, सुरक्षित एयर नेभिगेसन प्रणाली तथा दक्ष जनशक्ति विकासका लागि छुट्टै संस्थागत व्यवस्था गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै, नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयकले नागरिक उड्डयन क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउने र हवाई सेवालाई सुरक्षित, नियमित तथा भरपर्दो बनाउने उद्देश्य राखेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले सुशासन (व्यवस्थापन तथा सञ्चालन) (पहिलो संशोधन) विधेयक २०८३ संसद्मा दर्ता गराएका छन्।

सरकारी सेवा प्रवाहलाई सरल, छिटो, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यसहित विद्यमान सुशासन ऐन संशोधन गर्न विधेयक ल्याइएको हो।

सरकारी कार्यालयको कामकारबाहीलाई व्यवस्थित र मितव्ययी बनाउँदै कार्यप्रक्रियामा एकरूपता कायम गर्ने तथा आवश्यक निर्देशिका, कार्यविधि र मापदण्ड बनाएर लागू गर्न सक्ने कानुनी आधार तयार गर्ने प्रस्ताव विधेयकमा गरिएको छ।

बजेट अधिवेशनमा सरकारले ३५ वटा विधेयक संसद्मा दर्ता गराएको छ भने १२ वटा विधेयक कानुनमा परिणत भएका छन्।

 

कांग्रेस महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै ३० जना स्वास्थ्यकर्मीको सहभागितामा हेल्थ डेस्क सञ्चालनमा ल्याइने भएको छ । महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन खुलामञ्चमा स्वास्थ्य कक्षको व्यवस्था गरिएको हो ।

महाधिवेशन आयोजक समितिअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीका अनुसार खुलामञ्चको पश्चिमतर्फ पाँचवटा कक्षसहितको हेल्थ डेस्क तयार गरिएको छ । त्यहाँ सामान्य स्वास्थ्य परीक्षणदेखि आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका डा. केसीले हेल्थ डेस्क दुई सिफ्टमा सञ्चालन हुने जानकारी दिए । उनका अनुसार स्वास्थ्य कक्षमा आठ चिकित्सकसहित पारामेडिक्स र नर्सहरू खटिनेछन् । प्रतिनिधिहरूको मधुमेह र उच्च रक्तचाप परीक्षणका साथै सिटामोल, जीवनजल तथा घाउचोटमा प्रयोग हुने औषधि निःशुल्क उपलब्ध गराइनेछ ।

आकस्मिक उपचारका लागि अस्पताल लैजानुपर्ने अवस्था आएमा नजिकका वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र वसुन्धरास्थित बीपी स्मृति अस्पतालमा उपचारको व्यवस्था मिलाइएको डा. केसीले बताए । त्यसका लागि महाधिवेशनस्थलमा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछन् ।

रातिको समयमा स्वास्थ्य समस्या देखिएमा ‘अन कल ड्युटी’को व्यवस्था पनि गरिएको छ । साथै, प्रतिनिधिहरू होटलमा रहेका बेला स्वास्थ्य समस्या आएमा स्वास्थ्यकर्मीलाई सम्बन्धित होटलमै पठाएर जाँच तथा आवश्यक उपचारको व्यवस्था गरिने डा. केसीले जानकारी दिए ।

कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

शर्माले शनिबार बिहान महामन्त्री पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गरेका हुन्। कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ।

यसअघि शर्मा मोरङ–३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए। त्यहाँ खसेको ७९० सदरमतमध्ये उनले ६५० मत प्राप्त गरेका थिए।

महामन्त्रीका लागि शर्मासहित कांग्रेसका अन्य नेताहरूले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्।

महाधिवेशन नजिकिँदै जाँदा पदाधिकारीका आकांक्षीहरूले आफ्नो दाबी सार्वजनिक गर्ने क्रम बढेको छ।

त्रिचन्द्र क्याम्पसका स्ववियु सचिव आशिष गिरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित

काठमाडौं । त्रिचन्द्र क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिव आशिष गिरी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

बाजुराको बुढीनन्दा नगरपालिका–२, कोल्टी स्थायी घर भएका २६ वर्षीय गिरीले महाधिवेशन प्रतिनिधिमा ५९९ मत प्राप्त गरेका हुन्।

अर्थशास्त्रमा स्नातकोत्तर तह अध्ययनरत गिरी हाल त्रिचन्द्र कलेजको स्ववियु सचिवको जिम्मेवारीमा छन्।

उनले विद्यार्थी राजनीतिसँगै नेपाली कांग्रेसको राजनीतिमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

अन्तरिक्षमा पनि अमेरिकाको हतियार!

काठमाडौं। अहिलेसम्म पृथ्वीमा बसेर ‘अन्तरिक्षमा युद्ध हुन्छ’ भन्ने कुरा विज्ञानिक दन्त्यकथा जस्तो लाग्थ्यो। अब भने त्यो कथा फिल्मको पर्दाबाट निस्केर अमेरिकी सरकारी दस्तावेज र अधिकारीको मुखसम्म झुन्डेको छ।

अमेरिकाले अन्तरिक्षमा शत्रुका गतिविधि रोक्न सक्ने हतियार प्रणाली तैनाथ गरिसकेको औपचारिक रूपमा स्वीकार गरेको छ। अमेरिकी वायुसेना सचिव ट्रोय मिन्कले अन्तरिक्षमा ‘अन-अर्बिट स्पेस कन्ट्रोल वेपन्स’ रहेको सार्वजनिक रूपमा बताएपछि अन्तरिक्षको सैनिकीकरणबारे लामो समयदेखि चल्दै आएको अनुमानले औपचारिक रूप पाएको हो।

तर यहाँ पनि रमाइलो कुरा छ- अमेरिकाले हतियार छ भनेर भन्यो, हतियारचाहिँ कस्तो हो भनेर भनेन। कति वटा छन्, कहाँ छन्, कसरी चल्छन् र कसलाई ताकेर राखिएका छन् भन्ने कुरा गोप्य नै राखियो।

अमेरिकी अधिकारीहरूका अनुसार यी प्रणालीको उद्देश्य अन्तरिक्षमा रहेका सम्भावित शत्रुको गतिविधिलाई निष्प्रभावी पार्नु हो। अर्थात् अब कुनै देशले अर्को देशको उपग्रहलाई हेरेर मात्र बस्ने अवस्था छैन। आवश्यक परे उपग्रहकै गतिविधिमा हस्तक्षेप गर्ने क्षमता पनि अन्तरिक्ष शक्तिको हिस्सा बन्दै गएको छ।

अमेरिकाको यो स्वीकारोक्ति त्यतिबेला आएको हो, जतिबेला चीन र रुस पनि अन्तरिक्षमा आफ्नो सैन्य क्षमता विस्तार गर्न लागिपरेका छन्। अमेरिकी स्पेस फोर्सले चीनले ‘काउन्टरस्पेस’ क्षमता तीव्र गतिमा विकास गरिरहेको दाबी गर्दै आएको छ। रुसले पनि भविष्यका युद्धमा अन्तरिक्षलाई महत्वपूर्ण मोर्चाका रूपमा हेरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ।

स्पेस फोर्सका अपरेसन प्रमुख जनरल चान्स साल्ट्जम्यानले चीनले लक्ष्य पहिचान गर्ने, पछ्याउनेदेखि अन्तरिक्षमा रहेका वस्तुलाई नै निष्क्रिय पार्न सक्ने क्षमतासम्म विकास गरिरहेको बताएका थिए।

चीनले सन् २००७ मै आफ्नै मौसम उपग्रहलाई क्षेप्यास्त्र प्रहार गरेर नष्ट गरिसकेको छ। त्यस घटनाबाट हजारौँ टुक्रा अन्तरिक्षमा फैलिएका थिए। त्यसैले अन्तरिक्षमा ‘एकलाई हानेर अर्को पनि नफुट्ला’ भन्ने अवस्था छैन। एउटा उपग्रह ध्वस्त पार्दा त्यसका टुक्राले अरू उपग्रहलाई पनि जोखिममा पार्न सक्छन्।

अमेरिकाको अर्को महत्वाकांक्षी योजना ‘गोल्डेन डोम’ हो। राष्ट्रपति डोनाल्ड ट्रम्पको यो मिसाइल प्रतिरक्षा योजनामा अन्तरिक्षलाई समेत युद्धको अग्रमोर्चा बनाउने अवधारणा छ।

यससँग जोडिएको ‘स्पेस-बेस्ड इन्टरसेप्टर’ प्रणाली विकास गर्ने योजना अमेरिकाले अघि बढाएको छ। यसको उद्देश्य अन्तरिक्षबाटै आउने क्षेप्यास्त्रलाई बाटैमा रोक्नु हो। तर एउटा कुरा स्पष्ट हुनुपर्छ–यो प्रणाली अहिले नै ठूलो संख्यामा अन्तरिक्षमा तैनाथ भइसकेको भन्ने प्रमाण सार्वजनिक छैन।

त्यसैगरी ‘स्पेस–बेस्ड एयर–मुभिङ टार्गेट इन्डिकेसन’ अर्थात् एसबी-एएमटीआई कार्यक्रममार्फत अन्तरिक्षबाट विमान तथा अन्य हवाई लक्ष्यको निगरानी र पहिचान गर्ने योजना अघि बढाइएको छ।

अब कुरा हतियारको मात्र होइन, अन्तरिक्षमा भीडको पनि हो।

स्पेसएक्सको स्टारलिंकले मात्रै हजारौँ उपग्रह पृथ्वीको कक्षमा पठाइसकेको छ। आगामी दिनमा अझ धेरै उपग्रह थपिँदै छन्। चीन, अमेरिका र अन्य देशका सरकारी तथा निजी कम्पनी पनि आ–आफ्ना उपग्रहको जालो फैलाउने दौडमा छन्।

अर्थात् पृथ्वीमाथिको आकाश अब खाली आकाश रहेन। त्यहाँ सञ्चारका उपग्रह छन्, मौसमका उपग्रह छन्, जासुसी गर्ने उपग्रह छन्, नेभिगेसन प्रणाली छन् र अब त्यहीँ हतियार पनि पुगिसकेका छन्।

यही कारण अन्तरिक्ष फोहोरको चिन्ता पनि बढेको छ। एउटा ठूलो सैन्य भिडन्त भयो र उपग्रहहरू ध्वस्त भए भने त्यसबाट निस्कने टुक्राहरूले वर्षौँसम्म अरू उपग्रहलाई ठक्कर दिने जोखिम रहन्छ। अन्तरिक्षमा बनेको ‘ट्राफिक जाम’ हटाउन न सडक छ, न ट्राफिक प्रहरी।

अमेरिकाले आफ्नो कदमलाई सुरक्षा आवश्यकतासँग जोडेको छ। चीन र रुसका गतिविधिलाई कारण देखाउँदै अमेरिकाले अन्तरिक्षमा स्वतन्त्र रूपमा काम गर्न सक्ने क्षमता आवश्यक रहेको बताएको छ। चीन भने अमेरिकी अन्तरिक्ष सैनिकीकरणले हतियार दौडलाई थप बढावा दिने चेतावनी दिँदै आएको छ।

यसको अर्थ के हो भने पृथ्वीमा चलिरहेको शक्ति संघर्ष अब पृथ्वीको सीमाभन्दा माथि पुगेको छ।

हिजोसम्म युद्धमा जमिन, समुद्र र आकाश मुख्य मैदान थिए। त्यसपछि साइबर क्षेत्र थपियो। अब अन्तरिक्ष पनि त्यसैको सूचीमा औपचारिक रूपमा प्रवेश गरेको छ।

फरक यत्ति हो–जमिनमा गोली चल्यो भने आवाज सुनिन्छ, आकाशमा क्षेप्यास्त्र उड्यो भने देखिन्छ। तर अन्तरिक्षमा एउटा उपग्रहले अर्को उपग्रहको सञ्चार बन्द गरिदियो, बाटो छेकिदियो वा काम नलाग्ने बनाइदियो भने पृथ्वीमा बसेकालाई धेरै बेरसम्म थाहै नहुन सक्छ।

त्यसैले अमेरिकाले ‘अन्तरिक्षमा हतियार छ’ भनेर स्वीकार गरेको घटना सामान्य घोषणा होइन। यसले भविष्यको युद्ध कहाँसम्म पुग्न सक्छ भन्ने संकेत भने अवश्य दिएको छ।

बालेनको सचिवालयमा मन्त्रीसरह तलब-भत्ता खानेहरू

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा नियुक्त २५ जना सल्लाहकार तथा कर्मचारीको पद, जिम्मेवारी र सेवासुविधाको विवरण सार्वजनिक भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणमा तीन जनाले मन्त्रीसरह र दुई जनाले राज्यमन्त्रीसरहको सुविधा पाउने उल्लेख छ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीशप्रसाद अग्रवालले मन्त्रीसरहको सुविधा पाउनेछन्। अग्रवाल अवैतनिक स्वास्थ्य सल्लाहकार हुन्। नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्यमन्त्रीसरहको सुविधा तोकिएको छ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुवाष शर्माले राजपत्राङ्कित विशिष्ट श्रेणीसरहको सुविधा पाएका छन्। स्वकीय सचिव नवीन भण्डारी, विकास परियोजनासम्बन्धी स्वकीय सहसचिव सञ्जीव पाण्डे, प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल, कार्यक्रम तथा भ्रमण संयोजक सन्तोष गिरी र सामाजिक विकास विज्ञ विश्व राईलाई राजपत्राङ्कित प्रथम श्रेणी अर्थात् सहसचिवसरहको सुविधा दिइएको छ।

त्यस्तै, प्रकृति ढकाल, विशाल अधिकारी, नागरिक उड्डयनसम्बन्धी सहायक विज्ञ सुमन गौतम, भाषा तथा मस्यौदा सहायक विज्ञ रवि किरण अधिकारी र विनय शाक्यले उपसचिवसरहको सुविधा पाएका छन्।

स्वकीय शाखा अधिकृत तथा प्रेस सहजकर्ता सुरेन्द्र बजगाई, ग्राफिक्स डिजाइनर रोशन तामाङ, स्वकीय शाखा अधिकृत बेदानन्द जोशी र अनुसन्धान अधिकृत हेमनारायणदास चौधरीलाई शाखा अधिकृतसरहको सुविधा दिइएको छ।

त्यसैगरी प्रशासन सहायक अनुप थापा मगर, ऋषि थापा, राजकुमार गौतम र बेनिस कार्की तथा कम्प्युटर सहायक एवं भिडियोग्राफर अमृत पाण्डेले राजपत्र अनङ्कित प्रथम श्रेणीसरहको सुविधा पाउनेछन्।

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणले सचिवालयमा कार्यरत व्यक्तिहरूको जिम्मेवारी र उनीहरूले पाउने सरकारी सेवासुविधाको तह स्पष्ट पारेको छ।

उर्दूकी चर्चित शायरा परवीन शाकिर : प्रेम र विद्रोहकी प्रतिमूर्ति

कुनै शायराले आफैंमाथि प्रश्न सोधिएको परीक्षा दिएको सुन्नुभएको छ? पाकिस्तानकी चर्चित शायरा परवीन शाकिरको जीवनमा यस्तै रोचक घटना भएको थियो। उनले सन् १९८२ मा सेन्ट्रल सुपेरियर सर्भिस (सीएसएस) परीक्षा दिइन्। संयोग कस्तो भने, त्यही परीक्षामा उनकै बारेमा प्रश्न सोधिएको थियो।

परवीन शाकिर आज हामीमाझ छैनन्। सन् १९९४ मै उनले यो संसार छाडिन्। तर असल स्रष्टाको मृत्यु हुँदैन। ऊ आफ्ना शब्दमा बाँच्छ। आफ्ना रचनामा बाँच्छ। परवीन पनि त्यही शब्दको संसारमा आजसम्म जीवित छिन्।

उनका बारेमा लेख्न कलम उठाउँदा इकबालको एउटा शेर सम्झना आउँछ।

हज़ारों साल नरगिस अपनी बेनूरी पे रोती हैबड़ी मुश्किल से होता है चमन में एक दीदावर पैदा

उर्दू शायरीको लामो इतिहासमा पुरुष कविहरूको दबदबा रह्यो। मीर, गालिब, इकबाल, फैज, मजाज, जोश, साहिरजस्ता नामहरूकै चर्चा बढी सुनियो। महिलाको कुरा गर्दा पनि धेरैपटक पुरुषकै दृष्टिबाट उनीहरूलाई हेरियो।

मजाजले महिलालाई सम्बोधन गर्दै लेखेका थिए।

तुम्हारे तन पे ये आंचल बहुत ही ख़ूब है, लेकिनतुम इस आंचल से एक परचम बना लेतीं तो अच्छा था.

परवीन शाकिरको जन्मलाई मजाजको यही कल्पनाको एउटा सुन्दर जवाफ मान्न सकिन्छ। उनले एउटी महिलाका आँखाबाट महिला हुनुको अनुभव लेखिन्। प्रेम लेखिन्, पीडा लेखिन्, विवाह लेखिन्, वियोग लेखिन्, आमा हुनुको अनुभूति लेखिन् र सबैभन्दा महत्वपूर्ण, एउटी ‘केटी’ हुनुको कथा लेखिन्।

उनको एउटा कवितामा एउटी युवती आफ्नै सामाजिक बन्धनसँग प्रश्न गर्छे।

काश मेरे पर होतेकाश मैं हवा होतीमैं नहीं मगर कुछ भीसंग-दिल रिवाजों केआहिनी हिसारों मेंउम्र-कैद की मुल्ज़िमसिर्फ़ एक लड़की हूँ*आहिनी हिसारों में (लोहे की चारदीवारी में)

परवीन शाकिरले उर्दू शायरीमा ‘केटी’ शब्दलाई केवल सम्बोधनका रूपमा होइन, एउटा छुट्टै अनुभूतिको संसारका रूपमा स्थापित गरिन्।

लड़कियों के सुख अजब होते हैं और दुःख भी अजीबहँस रही हैं और काजल भीगता है साथ-साथ

परवीन शाकिरको जन्म २४ नोभेम्बर १९५२ मा पाकिस्तानको कराँचीमा भएको थियो। अध्ययनमा उनी अब्बल थिइन्। सन् १९६६ मा म्याट्रिक, १९६८ मा इन्टरमिडिएट, १९७० मा बीए अनर्स र १९७२ मा कराँची विश्वविद्यालयबाट अंग्रेजीमा एमए गरिन्।

उनले अंग्रेजी साहित्य र भाषाविज्ञानमा अध्ययन गरेकी थिइन्। बैंक प्रशासनसम्बन्धी अध्ययन पनि गरिन्। केही समय शिक्षण पेसामा रहिन्। कराँचीको अब्दुल्लाह कलेजमा अंग्रेजी पढाइन्।

तर उनको यात्रा त्यतिमै रोकिएन। सन् १९८२ मा उनले पाकिस्तानको प्रतिष्ठित सीएसएस परीक्षा उत्तीर्ण गरिन् र देशभर दोस्रो स्थान हासिल गरिन्। त्यसपछि उनी सरकारी प्रशासनमा प्रवेश गरिन्। सन् १९८६ मा इस्लामाबादस्थित फेडरल बोर्ड अफ रिभेन्युमा दोस्रो सचिवका रूपमा जिम्मेवारी सम्हालिन्।

प्रशासनिक सेवाकै क्रममा उनले छात्रवृत्ति प्राप्त गरिन् र हार्वर्ड विश्वविद्यालयमा अध्ययन गर्ने अवसरसमेत पाइन्।

तर उनको सबैभन्दा ठूलो परिचय सरकारी अधिकारीको होइन, शायराको थियो।

परवीनले सानै उमेरदेखि लेख्न सुरु गरेकी थिइन्। सुरुमा गजल र नज्म लेखिन्। उनको प्रारम्भिक तखल्लुस ‘बीना’ थियो।

सन् १९७६ मा उनको पहिलो कृति ‘खुशबू’ प्रकाशित भयो। पुस्तक यति लोकप्रिय भयो कि त्यसले परवीनलाई उर्दू साहित्यको चर्चित नाम बनाइदियो।

‘खुशबू’ले त्यही वर्ष आदमजी साहित्य पुरस्कारसमेत पायो।

उनको लेखनको सबैभन्दा ठूलो विशेषता थियो, उनले महिलाका भावनालाई महिलाकै आवाजमा लेखिन्। प्रेममा परेकी महिला, प्रेममा धोका खाएकी महिला, श्रीमती बनेकी महिला, आमा बनेकी महिला, सम्बन्धविच्छेद भोगेकी महिला, उनका कवितामा यी सबै रूप देखिन्छन्।

उनको एउटा चर्चित शेर छ।

कुछ तो तिरे मौसम ही मुझे रास कम आए

और कुछ मिरी मिट्टी में बग़ावत भी बहुत थी

यही विद्रोह उनको कविताको शक्ति बन्यो।

परवीनअघि पनि प्रेमका कविता लेखिए। तर धेरैजसो पुरुष कविहरूले महिलालाई प्रेमको विषय बनाए। परवीनले भने महिलालाई प्रेमको पात्र मात्र होइन, प्रेम गर्ने व्यक्तिका रूपमा प्रस्तुत गरिन्।

उनी प्रेममा परेकी महिलाको मनभित्र पसिन्।

मैं क्यूं उस को फ़ोन करूं!उस के भी तो इल्म में होगाकल शबमौसम की पहली बारिश थी!

कति सामान्य लाग्ने कुरा। तर यही सामान्य क्षणलाई परवीनले कवितामा असाधारण बनाइदिइन्।

अर्को ठाउँमा उनी लेख्छिन्।

अपने फ़ोन पे नंबरबार बार डायल करती हूँसोच रही हूँकब तक उस का टेलीफ़ोन इंगेज रहेगादिल कुढ़ता हैइतनी इतनी देर तलकवो किस से बातें करता है!

यो  प्रेमिकाको ईर्ष्या होइन। यो आफ्नो प्रेममाथि अधिकार खोजिरहेकी एउटी महिलाको मन हो।

परवीनको विवाह डा. नसीर अलीसँग भएको थियो। उनीहरूका एक छोरा मुराद अली थिए। पछि उनीहरूको सम्बन्धविच्छेद भयो।

उनको निजी जीवनका यी अनुभव पनि कवितामा आए। विवाहलाई उनले केवल रोमान्टिक सम्बन्धका रूपमा हेरिनन्। त्यसभित्रका तनाव, अपेक्षा, बेवफाई, दूरी र वियोगलाई पनि उनले शब्द दिइन्।

उनका कवितामा एउटी पत्नी छे, एउटी आमा छे र आफ्नै पहिचान खोजिरहेकी एउटी महिला पनि छे।

त्यसैले उनका कविता पढ्दा एउटी महिलाको जीवनका विभिन्न चरण देखिन्छन्, युवतीदेखि प्रेमिका, प्रेमिकादेखि पत्नी, पत्नीबाट आमा र अन्ततः आफ्नै अस्तित्व खोज्ने महिलासम्म।

उनको अर्को शेरमा प्रेमको यही अनौठो सम्बन्ध देखिन्छ।

कभी कभार उसे देख लें कहीं मिल लें 

ये कब कहा था कि वो ख़ुश-बदन हमारा हो

परवीनको निधनपछि ‘माह-ए-तमाम’ प्रकाशित भयो। त्यसमा उनका व्यक्तिगत पीडा र जीवनका विभिन्न अनुभव झन् स्पष्ट देखिन्छन्।

उनको शायरी पाकिस्तानमा यति लोकप्रिय थियो कि ‘खुशबू’लाई मानिसहरूले आफ्ना मंगेतरलाई उपहार दिने पुस्तकका रूपमा समेत प्रयोग गर्थे।

उनको योगदानको कदर गर्दै उनलाई ‘प्राइड अफ परफर्मेन्स’ लगायतका सम्मान प्रदान गरियो। उनका रचनाहरू अंग्रेजी र जापानी भाषामा समेत अनुवाद भएका छन्।

उनकी निकट साथी तथा शायरा शाहिदा हसनले परवीनबारे भनेकी थिइन्, उनले आफ्नो व्यक्तित्व र भावनालाई जुन तीव्रता र इमानदारीका साथ कवितामा व्यक्त गरिन्, त्यो व्यक्तिगत अनुभवबाट उठेर सामूहिक अनुभव बन्न पुग्यो।

परवीनका साहित्यिक गुरु थिए अहमद नदीम कासमी। उनी उनलाई मायाले ‘अम्मुजान’ भनेर सम्बोधन गर्थिन्।

उनको शायरीमा फैज र फराजको प्रभावको झल्को पाइन्छ। तर उनी कसैको अनुकरण गर्ने शायरा थिइनन्। उनको आफ्नै आवाज थियो, कोमल पनि, विद्रोही पनि।

उनको अर्को चर्चित शेर हो।

कमाल-ए-ज़ब्त को खुद भी तो आजमाऊंगी

मैंने अपने हाथ से उसकी दुल्हन सजाऊँगी

प्रेममा अधिकारभन्दा बढी चाहना छ, भेटभन्दा बढी स्मृति छ।

परवीनको कवितामा आमा हुनुको अनुभूति पनि बलियोसँग आएको छ। उनले आफ्ना छोरालाई सम्बोधन गर्दै लेखेकी छन्, उसले शायराकी छोराका रूपमा चिनिनुपरेकोमा लज्जित हुनुपर्ने कुनै कारण छैन।

यो एउटा सानो वाक्य जस्तो लाग्न सक्छ। तर त्यसमा महिलाको पहिचान र पुरुषप्रधान समाजसँगको उनको सम्बन्धबारे ठूलो प्रश्न लुकेको छ।

उनले उर्दू शायरीमा महिलाको उपस्थिति केवल ‘प्रेरणाको स्रोत’ का रूपमा होइन, स्वयं सर्जकका रूपमा स्थापित गरिन्।

प्रेम, पीडा र आत्मसंयमको यस्तो संयोजन परवीनको शायरीको विशिष्ट पहिचान हो। प्रेममा हारेर पनि आफूलाई सम्हालिरहेकी महिलाको आवाज उनका धेरै कवितामा सुनिन्छ।

उनको अर्को कवितामा पनि त्यही भाव भेटिन्छ।

कव्वे भी अंडे खाने के शौक़ को अपनेफ़ाख़्ता के घर जा कर पूरा करते हैंलेकिन ये वो सांप हैं जो किअपने बच्चेख़ुद ही चट कर जाते हैंकभी कभी मैं सोचती हूं किसांपों की ये ख़सलतमालिक-ए-जिंन-ओ-इन्स की, इंसानों के हक़ मेंकैसी बे-पायां रहमत है!

परवीनको शायरीमा प्रेम केवल प्राप्ति; प्रतीक्षा, असुरक्षा, स्मृति र छुट्टिने डर पनि उत्तिकै गहिरो छन्।

उनको कवितामा त्यो क्षण पनि आउँछ, जहाँ बाहिरी संसारको एउटा सामान्य दृश्यले भित्रको पुरानो अनुभूति जगाइदिन्छ।

शोर मचाती मौजे-आबसाहिल से टकरा के जब वापिस लौटी तोपांव के नीचे जमी हुई चमकीली सुनहरी रेतअचानक सरक गई!कुछ कुछ गहरे पानी मेंखड़ी हुई लड़की ने सोचाये लम्हा कितना जाना-पहचाना लगता है!

उनको अर्को कवितामा फूल, काँडा र तितलीको माध्यमबाट प्रेम र चोटको भिन्नता देखिन्छ।

कांटों में घिरे फूल को चूम आएगी लेकिन

तितली के परों को कभी छिलते नहीं देखा

परवीन शाकिरको जीवन धेरै लामो थिएन। २४ नोभेम्बर १९५२ मा जन्मिएकी उनी २६ डिसेम्बर १९९४ मा सडक दुर्घटनामा परिन्।

उनी ४२ वर्षकी थिइन्।

इस्लामाबादको जुन सडकमा उनको निधन भएको थियो, त्यसको नाम पछि ‘परवीन शाकिर रोड’ राखियो।

उनको सम्झनामा परवीन शाकिर ट्रस्ट स्थापना भयो। हरेक वर्ष उनको स्मृतिमा कार्यक्रम आयोजना हुँदै आएको छ। सन् २०१३ मा पाकिस्तान सरकारले उनको सम्मानमा १० रुपैयाँको हुलाक टिकटसमेत जारी गर्‍यो।

मृत्युअघि उनी सन् १९७१ को युद्धसँग सम्बन्धित एउटा अनुसन्धानात्मक काममा व्यस्त थिइन्, जुन अमेरिकाको एउटा विश्वविद्यालयमा प्रस्तुत गर्ने तयारी थियो।

सन् १९५२ मा जन्मिइन्।

सन् १९७६ मा ‘खुशबू’ प्रकाशित भयो।

सन् १९८२ मा सीएसएसमा देशभर दोस्रो स्थान हासिल गरिन्।

सन् १९९४ मा सदाका लागि मौन भइन्।

जीवनको हिसाबले यो निकै छोटो यात्रा हो। तर साहित्यमा समय वर्षले होइन, प्रभावले नापिन्छ।

परवीनले जम्मा चार दशकभन्दा केही बढी जीवन बाँचिन्। लेखनमा पनि उनको सक्रिय समय धेरै लामो थिएन। तर उनले ती थोरै वर्षमा महिलाको मन, प्रेम, पीडा, विद्रोह र आत्मसम्मानलाई जुन आवाज दिइन्, त्यो आवाज आज पनि उर्दू साहित्यमा सुनिन्छ।

उनको शायरीमा प्रेमको कोमलता र वियोगको पीडा सँगसँगै भेटिन्छ।

गए बरस कि ईद का दिन क्या अच्छा थाचाँद को देख के उस का चेहरा देखा थाफ़ज़ा में ‘कीट्स’ के लहजे की नरमाहट थीमौसम अपने रंग में ‘फ़ैज़’ का मिस्रा था

प्रेम र स्मृतिको अर्को सुन्दर चित्र यस्तो छ।

चेहरा मेरा था निगाहें उस कीख़ामुशी में भी वो बातें उस कीमेरे चेहरे पे ग़ज़ल लिखती गईं

शे’र कहती हुई आंखें उस कीशोख़ लम्हों का पता देने लगींतेज़ होती हुई साँसें उस की

उनका जीवन सकियो, तर प्रेम, स्मृति र शब्दको त्यो संसार सकिएन।

अन्ततः परवीन शाकिरको शायरीमा प्रेम गर्ने, प्रतीक्षा गर्ने, पीडा सहने र आफ्नो अस्तित्व खोज्ने एउटी महिलाको आवाज सुनिन्छ।

उनको सबैभन्दा लामो कवितात्मक अनुभूतिमध्ये एउटा यस्तो छ।

टपक पड़ते हैं आँसू जब तुम्हारी याद आती है
ये वो बरसात है जिसका कोई मौसम नहीं होता

उसके कंवल हाथों की ख़ुशबू
कितनी सब्ज़-आँखों ने पीने की ख़्वाहिश की थी

कितने चमकते बालों ने
छुए जाने की आस में कैसा-कैसा ख़ुद को बिखराया था

कितने फूल उगाने वाले पाँव
उसकी राह में अपनी आँखें बिछाए फिरते थे

लेकिन वो हर ख़्वाब के हाथ झटकती हुई
जंगल की मगरूर हवाओं की सूरत
अपनी धुन में उड़ती फिरती

आज मगर
सूरज ने खिड़की से झाँका तो
उसकी आँखें पलकें झपकना भूल गईं

वो मगरूर-सी, तीखी लड़की
आम-सी आँखों, आम-से बालों वाले
एक अक्खड़ परदेसी के आगे
घुटनों पर बैठी
उसके बूट के तस्मे बाँध रही थी!

सन् १९५२ मा जन्मिइन्।

सन् १९७६ मा ‘खुशबू’ प्रकाशित भयो।

सन् १९८२ मा सीएसएसमा देशभर दोस्रो स्थान हासिल गरिन्।

सन् १९९४ मा सदाका लागि मौन भइन्।

[शामिख फराज, २०औँ शताब्दीमा बाल्यकाल बिताएर २१औँ शताब्दीमा युवा बनेका कम्प्युटर इन्जिनियर, साहित्यप्रेमी पाठक तथा ब्लग र अखबारका स्तम्भकार हुन्, उनले परवीन शाकिरको पुण्यतिथिका अवसरमा उनका बारेमा यो आलेख लेखेका हुन् ]

गगनका ‘राइट ह्यान्ड’ प्रताप पौडेल महाधिवेशन प्रतिनिधिमा निर्विरोध

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाका प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेल १५औँ महाधिवेशनका लागि बागलुङ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका छन्।

खुलातर्फबाट उम्मेदवारी दिएका पौडेल सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका हुन्। कांग्रेसको १५औँ महाधिवेशन व्यवस्थापनका लागि गठित केन्द्रीय निर्देशन समितिमा पनि पौडेल सदस्य–सचिवको जिम्मेवारीमा छन्।

बागलुङ नगरपालिका–१३ पैयुँपाटाका पौडेल विद्यार्थी जीवनदेखि नै कांग्रेस राजनीतिमा सक्रिय रहँदै आएका छन्। धौलागिरि बहुमुखी क्याम्पस बागलुङको विद्यार्थी राजनीतिदेखि नेपाल विद्यार्थी संघको जिल्ला तथा त्रिभुवन विश्वविद्यालयस्तरीय गतिविधिमा उनले भूमिका निर्वाह गरेका थिए।

पछिल्लो दुई दशकदेखि थापाको राजनीतिक तथा नीतिगत टिममा रहेर काम गर्दै आएका पौडेल सार्वजनिक नीति, संविधान तथा संसदीय मामिलामा पनि सक्रिय छन्। थापा स्वास्थ्य तथा जनसंख्यामन्त्री हुँदा उनले प्रमुख सल्लाहकारका रूपमा काम गरेका थिए।

स्वास्थ्य नीति, स्वास्थ्य प्रणाली, स्वास्थ्य बीमा, जनशक्ति व्यवस्थापन तथा स्वास्थ्यसम्बन्धी कानुन निर्माणका विषयमा पौडेलले काम गरेको बताइएको छ। कांग्रेसका विभिन्न निर्वाचन घोषणापत्र तथा पार्टीको नीति र विधान मस्यौदा निर्माणमा समेत उनी संलग्न रहँदै आएका छन्।

पौडेलले गगन थापासँग सहलेखनमा संविधानसभा र नेपाली कांग्रेसलगायत पुस्तकसमेत लेखेका छन्। विभिन्न संसदीय समिति तथा सरकारका नीति र कानुन तर्जुमा कार्यदलमा विज्ञका रूपमा समेत काम गरेको उनको अनुभव छ।

महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएपछि अब पौडेलले बागलुङ क्षेत्र नम्बर १ बाट कांग्रेसको १५औँ महाधिवेशनमा सहभागिता जनाउनेछन्।

६ दिनपछि खुल्यो बेँसीसहर-चामे सडक

लमजुङ । बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको छ। सडकमा खसेको पहिरो र थुप्रिएको ढुङ्गामाटो हटाएपछि यातायात पुनः सञ्चालनमा आएको हो।

डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार मनाङको नासों गाउँपालिका–३ खोत्रो र चामे गाउँपालिका–५ कोतोमा खसेको पहिरो पन्छाएपछि सडक खुलेको हो।

बाढीपहिरोले सडकका विभिन्न खण्डमा क्षति पुर्‍याउनुका साथै कतिपय ठाउँमा सडक भासिएको थियो। अवरोध हटेसँगै मनाङतर्फ आवतजावत गर्ने यात्रु तथा खाद्यान्न र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज हुने अपेक्षा गरिएको छ।

बेँसीसहर–चामे सडक मनाङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने प्रमुख मार्ग हो। वर्षायाममा बाढीपहिरोका कारण यो सडक पटकपटक अवरुद्ध हुँदा स्थानीयको आवागमन र आपूर्ति व्यवस्थामा समस्या हुँदै आएको छ।

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल

काठमाडौं । भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल नियुक्त भएका छन्। समितिको सदस्यमा नवराज तिमिल्सिना र अनिता खड्का नियुक्त भएका छन्।

मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरूलाई समितिमा जिम्मेवारी दिइएको हो।

संघीय सरकारअन्तर्गत सञ्चालन हुँदै आएको भरतपुर अस्पतालमा नयाँ पदाधिकारी नियुक्त भएसँगै व्यवस्थापन, सेवा विस्तार र उपचार सेवालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

नवनियुक्त अध्यक्ष तथा सदस्यहरूले अस्पतालको सेवा गुणस्तरीय, व्यवस्थित र नागरिकमैत्री बनाउन समन्वय तथा सहजीकरण गर्ने अपेक्षा गरिएको छ।

जुम्लाका फाँटमा मार्सीको रौनक [फोटो-फिचर]

जुम्ला । तिला र हिमा नदीकिनारका फाँटमा मार्सी धान पाक्ने बेला नजिकिएको छ। सुनौलो र खैरो रङमा बदलिँदै गरेका खेतले जुम्लाको पहिचान बनेको रैथाने धानको मौसम आएको संकेत गरिरहेका छन्।

जुम्लाका आठवटै स्थानीय तहमा खेती हुँदै आएको मार्सी धान यहाँको खाद्य उत्पादन र किसानको जीविकोपार्जनसँग मात्रै जोडिएको छैन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको कृषि ज्ञान र सांस्कृतिक परम्पराको हिस्सा पनि हो।

पातारासीको छुमचौर, तातोपानीको लाछु ज्युलो, चन्दननाथको शेरा ज्युलोसहित सिञ्जा, हिमा र तिलाका फाँट मार्सी उत्पादनका प्रमुख क्षेत्र हुन्। समुद्री सतहबाट करिब ३ हजार ५० मिटर उचाइमा रहेको छुमचौर उच्च हिमाली क्षेत्रमा धानखेती हुने चर्चित स्थान हो।

जिल्लामा कुल २ हजार ८८८ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। त्यसमध्ये १ हजार ६८ हेक्टरमा मार्सी धान लगाइन्छ। यो कुल धानखेती क्षेत्रफलको करिब ३७ प्रतिशत हो। बाँकी क्षेत्रमा मुख्यतः उन्नत जातका धान खेती गरिन्छ।

मार्सी खेतीको आफ्नै परम्परागत पात्रो छ। किसानले चैत १२ गते बीउ पानीमा भिजाउने, चैत १६ गते निकालेर अङ्कुरण गराउने र चैत २० देखि २१ गतेसम्म ब्याडमा छर्ने गर्छन्। जेठमा रोपाइँ गरिने यो धान उचाइ र मौसमअनुसार असोजदेखि कात्तिकसम्म पाक्छ। दसैँतिहारको आसपास किसानलाई धान काट्ने र भित्र्याउने चटारो पर्छ।

मार्सी धान जुम्ली किसानका लागि खाद्यान्नको स्रोत मात्र होइन, आम्दानीको आधारसमेत बनेको छ। आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा करिब ३ हजार मेट्रिक टन मार्सी धान उत्पादन भएको विवरण छ।

२०८२ कात्तिकदेखि २०८२ फागुन मसान्तसम्म जिल्लाबाहिर करिब १७५ मेट्रिक टन मार्सी चामल बिक्रीका लागि पठाइएको थियो। उक्त परिमाणको अनुमानित बिक्री मूल्य ३ करोड ५० लाख रुपैयाँ रहेको छ।

स्थानीय बजारमा मार्सी चामल प्रतिकिलो करिब १८० रुपैयाँ र काठमाडौंमा २५० रुपैयाँसम्म बिक्री हुने गरेको छ। गुणस्तर, प्याकेजिङ र बजारअनुसार मूल्य फरक पर्न सक्छ।

मार्सीलगायत रैथाने बालीको संरक्षण र व्यावसायिक प्रवर्द्धनमा नवीकरणीय ऊर्जा तथा कृषि प्रविधिको उपयोग पनि जोडिन थालेको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को कृषि–खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा परियोजनाले स्थानीय कृषि प्रणालीलाई सहयोग गर्दै आएको छ।

परियोजनाले सिँचाइ र कृषि उपकरण सञ्चालनमा विद्युत्को प्रयोगसँगै बाली कटानीपछिको प्रशोधन, भण्डारण, प्याकेजिङ र बजार पहुँच विस्तारमा जोड दिएको छ। यसले किसानको श्रम घटाउने, उपजको गुणस्तर कायम राख्ने र बजारसम्म पुर्‍याउन सहयोग गर्ने लक्ष्य राखेको छ।

चन्दननाथ नगरपालिका–८, स्यालबाडाकी कृषक माया रानाका अनुसार रैथाने बालीको खेती विस्तार र कृषि उपजको बिक्रीमा परियोजनाको सहयोग उपयोगी भएको छ।

‘रैथाने बालीको खेती क्रमशः घट्दै गइरहेको अवस्थामा परियोजनाले यसको प्रवर्द्धन गर्न र खेती हुने क्षेत्र विस्तार गर्न सहयोग गरेको छ। उत्पादन बढेपछि अहिले हामी सहकारीमार्फत कृषि उपज बिक्री गर्न सक्षम भएका छौँ, जसले आम्दानी पनि बढाएको छ,’ रानाले भनिन्।

मार्सीको बढ्दो बजार मागलाई किसानको आम्दानीमा रूपान्तरण गर्न उत्पादनसँगै गुणस्तर, भण्डारण र बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिन्छ। पुस्तौँदेखि जोगिएको यो रैथाने बालीको संरक्षणसँगै व्यावसायिक खेती विस्तार हुन सके जुम्लाको कृषि पहिचान र स्थानीय अर्थतन्त्र दुवैलाई टेवा पुग्न सक्छ।

 

पाँचथरको ४२ वडामा अधिवेशन गरेको कांग्रेसको संस्थापनइतर पक्षको दाबी

पाँचथर । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले १५औँ महाधिवेशनअन्तर्गत पाँचथरको ६० वडामध्ये ४२ वडामा अधिवेशन सम्पन्न भएको दाबी गरेको छ ।

अधिवेशन सम्पन्न भएका वडामा संगठनात्मक गतिविधि थप सक्रिय बनेको केन्द्रीय प्रतिनिधि सूर्यकुमार दाहाल (एसके)ले बताए । उनका अनुसार बाँकी १८ वडामा पनि अधिवेशन सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइएको छ।

वडा अधिवेशनमार्फत पार्टीको स्थानीय संगठनलाई व्यवस्थित बनाउने तथा क्रियाशील सदस्य र प्रतिनिधिको सहभागितालाई संस्थागत गर्ने प्रयास भइरहेको उनको भनाइ छ । वडा तहको अधिवेशनपछि पालिका, प्रदेशसभा क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रीय तहसम्मको अधिवेशन प्रक्रिया अघि बढ्नेछ।

अधिवेशनलाई सहभागितामूलक र सौहार्दपूर्ण बनाउन सम्बन्धित तहका नेता तथा कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।

सोम पोर्तेलको प्रश्न : उडान ढिलाइको क्षतिपूर्ति कहिलेदेखि?

काठमाडौं । राष्ट्रिय सभा सदस्य सोम पोर्तेलले आन्तरिक हवाई उडानमा ढिलाइ हुँदा यात्रुले पाउने क्षतिपूर्तिको सीमा स्पष्ट पार्न सरकारसँग माग गरेका छन्।

राष्ट्रिय सभामा आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै पोर्तेलले उडान ढिला वा रद्द हुँदा यात्रुले भोग्दै आएको सास्तीलाई कानुनले सम्बोधन गर्नुपर्ने बताए।

उनले घण्टौँसम्म विमानस्थलमा यात्रु कुरिरहने र अन्ततः उडान रद्द भएपछि राति घर फर्किनुपर्ने अवस्था रहेको बताए। यस्तो समस्या आफूहरूले पनि पटकपटक भोगेको उनको भनाइ थियो।

पोर्तेलले अहिलेका उडान तालिकामै पनि समस्या रहेको औँल्याए। उनका अनुसार एउटै एयरलाइन्सले विभिन्न गन्तव्यका लागि एउटै समयमा उडान राख्ने र अन्य एयरलाइन्सले पनि उही समय तोक्ने गरेका छन्।

‘६ः३० बजे एउटाले उडान राखेको छ, अर्कोले पनि त्यही समय राखेको छ। तीन–चारवटा उडान एकैपटक कसरी उड्छन्?’ भन्दै उनले तालिका निर्माणमै व्यावहारिकता अपनाउनुपर्ने बताए।

उनले उडानमा हुने ढिलाइको क्षतिपूर्ति दाबी गर्न पाउने समय र सीमा पनि कानुनमै स्पष्ट हुनुपर्ने बताए। ‘५ मिनेट ढिला भयो भने पनि क्षतिपूर्ति पाउने हो कि? कति समय ढिलाइ भएपछि क्षतिपूर्ति दाबी गर्न पाउने हो?’ भन्ने विषय स्पष्ट हुनुपर्ने उनको भनाइ थियो।

काठमाडौं विमानस्थलमा अवतरणका लागि जहाजहरू आकाशमै होल्ड हुनुपर्ने अवस्था रहेको उल्लेख गर्दै पोर्तेलले यस्तो परिस्थितिमा हुने ढिलाइलाई कसरी क्षतिपूर्तिको दायरामा ल्याउने भन्नेबारे पनि स्पष्ट व्यवस्था आवश्यक रहेको बताए।

आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट संशोधनसहित पारित भइसकेको छ। विधेयकमा उडान ढिलाइ वा रद्द हुँदा यात्रुलाई उपलब्ध गराउनुपर्ने सुविधा तथा क्षतिपूर्तिसहितका विषय नियमावलीमार्फत व्यवस्थित गर्ने व्यवस्था राखिएको छ।

पोर्तेलले विधेयकले यात्रुको समस्या सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित गर्न समर्थन जनाएका छन्।

रामहरि खतिवडा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नेता रामहरि खतिवडा ओखलढुंगाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। खुलातर्फ उम्मेदवारी दिएका खतिवडाले १ हजार मत प्राप्त गरेको समाचार सार्वजनिक भएको छ। ।

ओखलढुंगामा बिहीबार सम्पन्न मतगणनाबाट खतिवडा प्रतिनिधि चयन भएका हुन्। उनको पक्षमा आएको मतलाई जिल्लामा उनको संगठनात्मक पकड र कार्यकर्तामाझको समर्थनसँग जोडेर हेरिएको छ।

पार्टीभित्र स्पष्ट अभिव्यक्ति दिने नेताका रूपमा चिनिने खतिवडाले महाधिवेशनको प्रतिनिधि छनोटमा खुलातर्फ प्रतिस्पर्धा गरेका थिए। उनले अघि सार्दै आएको ‘विचारमा स्पष्टता, नेतृत्वमा नवीनता, संगठनमा एकता र जनतामा प्रतिबद्धता’ भन्ने नारालाई पनि उनका समर्थकले जोड दिएका छन्।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै खतिवडाले अब पार्टीको केन्द्रीय महाधिवेशनमा ओखलढुंगाको प्रतिनिधित्व गर्नेछन्।

कांग्रेसभित्र नेतृत्व र नीतिगत बहस चलिरहेका बेला प्रतिनिधि छनोटको यो नतिजाले उनको आगामी भूमिकाबारे चासो बढाएको छ।

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा सभामुख अर्यालले अन्तरव्यवस्थापिका सङ्घ (आइपीयू) को १५३औँ महासभामा सहभागी हुन आफू आइतबार प्रस्थान गर्न लागेको जानकारी गराएका छन्।

सभामुखको सचिवालयका अनुसार भेटमा महासभामा नेपालको सहभागिता र प्रतिनिधित्वका विषयमा पनि छलफल भएको थियो।

अन्तरव्यवस्थापिका सङ्घको महासभा विभिन्न देशका संसद्बीच संवाद, सहकार्य र साझा विषयमा छलफल गर्ने अन्तर्राष्ट्रिय मञ्च हो।

नेपालको प्रतिनिधिमण्डलले महासभामा सहभागिता जनाउने तयारी गरेको छ।

 

 

राष्ट्रपतिसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । भाषा आयोगले आर्थिक वर्ष २०८२/८३ मा गरेका कामकारबाही समेटिएको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ।

आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले शुक्रबार राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन बुझाएका हुन्।

भाषा आयोग ऐन, २०७४ अनुसार तयार गरिएको प्रतिवेदन राष्ट्रपति कार्यालयमा पेस गरिएको हो। प्रतिवेदनमा आयोगले सम्बन्धित आर्थिक वर्षमा गरेका काम तथा गतिविधिको विवरण समेटिएको छ।

भाषा आयोगले नेपालको भाषिक विविधताको संरक्षण, संवर्द्धन तथा भाषासम्बन्धी नीतिगत विषयमा अध्ययन र सिफारिस गर्दै आएको छ।

करोडौँका अस्पताल भवन बने, उपचार गर्ने डाक्टर खोइ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले करोडौँ खर्च गरेर बनाइएका आधारभूत अस्पतालहरूमा चिकित्सक, स्वास्थ्यकर्मी, उपकरण र औषधि नहुँदा भवनमै सीमित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै केरुङले ग्रामीण क्षेत्रका नागरिकले आधारभूत स्वास्थ्य सेवा लिनसमेत सास्ती खेप्नुपरेको बताए।

संघीय सरकारले ६५७ वटा आधारभूत अस्पताल निर्माण गर्ने योजना अघि सारे पनि भवन बनेपछि सेवा सञ्चालनको जिम्मेवारी र स्रोत व्यवस्थापनमा सरकारहरूबीच स्पष्ट समन्वय हुन नसकेको उनको भनाइ थियो।

‘हामीले अस्पताल बनायौँ कि भवन मात्रै?’ भन्दै उनले प्रश्न गरे, ‘स्थानीय तहसँग अस्पताल चलाउने पर्याप्त स्रोत छैन, चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी छैन भने भवन बनाएर मात्रै नागरिकले उपचार कसरी पाउँछन्?’

आफ्नो निर्वाचन क्षेत्र पाँचथरका ग्रामीण बस्तीको स्वास्थ्य अवस्थासमेत उनले सदनमा प्रस्तुत गरे। अस्पताल बने पनि आवश्यक जनशक्ति र उपचार सामग्री नहुँदा स्थानीयले अपेक्षित सेवा पाउन नसकेको उनले बताए।

महालेखा परीक्षकको प्रतिवेदनमा समेत निर्माण सम्पन्न भएका कतिपय अस्पताल आवश्यक जनशक्ति र उपकरणको अभावमा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको विषय औंल्याइएको उनले स्मरण गराए।

केरुङले संघ, प्रदेश र स्थानीय तहबीच स्वास्थ्य सेवासम्बन्धी जिम्मेवारी स्पष्ट पार्नुपर्ने बताए। ग्रामीण क्षेत्रमा निर्माण भएका आधारभूत अस्पताललाई तत्काल चिकित्सक, स्वास्थ्यकर्मी, औषधि र आवश्यक उपकरण उपलब्ध गराएर सञ्चालनमा ल्याउनुपर्ने उनको माग छ।

नागरिकको स्वास्थ्य सेवाको अधिकार कागजमा मात्रै नभई व्यवहारमै सुनिश्चित गर्नुपर्ने भन्दै उनले सरकारसमक्ष १० बुँदे प्रश्न र ७ बुँदे ठोस प्रस्तावसमेत प्रस्तुत गरेका छन्।