`

बाजुरामा विद्युत् पोलबाट करेन्ट लाग्दा ४२ वर्षीय पुरुषको मृत्यु

काठमाडौं । बाजुरामा विद्युत् पोलबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ।

बुढीगंगा नगरपालिका–२ परिवनका ४२ वर्षीय धनबहादुर केसीको आइतबार साँझ सामुदायिक वनभित्र करेन्ट लागेर मृत्यु भएको हो।

आफन्तले खोजी गर्ने क्रममा परिवन सामुदायिक वनमा केसी विद्युत्को केन्द्रीय प्रसारण लाइनको पोलबाट करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको अवस्थामा फेला परेका थिए। स्थानीयले साँझ पौने ८ बजेतिर घटनाबारे जिल्ला प्रहरी कार्यालय बाजुरालाई जानकारी गराएका थिए।

सूचना पाएपछि अस्थायी प्रहरी बेस क्याम्प बल्देबाट प्रहरी वरिष्ठ हवल्दार रतनबहादुर साउदको नेतृत्वमा चार सदस्यीय टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखेर प्रारम्भिक अनुसन्धान थालेको थियो।

सोमबार बिहान प्रहरी चौकी बार्जुगाडबाट प्रहरी नायब निरीक्षक जंगबहादुर चन्दको नेतृत्वमा थप पाँच जना प्रहरी घटनास्थलतर्फ खटिएका छन्। घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षकको नेतृत्वमा सात सदस्यीय टोलीसमेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए।

प्रहरीका अनुसार घटनास्थलमा खटिएका केही अधिकारीसँग तत्काल सम्पर्क हुन नसकेको जनाइएको छ। केसी किन जंगलमा पुगेका थिए र कुन परिस्थितिमा विद्युत् पोलबाट करेन्ट लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कांग्रेसमा नीति र नेतृत्व विकासका लागि तीन नयाँ संस्था प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसले पार्टीलाई चुनाव र सत्ता सञ्चालनमा मात्र सीमित नराखी नीति, ज्ञान र नेतृत्व निर्माणको केन्द्र बनाउने प्रस्ताव अघि सारेको छ।

१५औँ महाधिवेशनमा सभापति गगन थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ दस्ताबेजमा नीति प्रतिष्ठान, नेतृत्व प्रतिष्ठान र गभर्नेन्स इन्स्टिच्युट स्थापना गर्ने प्रस्ताव गरिएको हो।

नीति प्रतिष्ठानले राष्ट्रिय समस्या अध्ययन गरी नीतिगत विकल्प तयार गर्ने तथा कार्यान्वयनबाट प्राप्त परिणामका आधारमा नीति सुधार गर्नेछ। नेतृत्व प्रतिष्ठानले पार्टीका सदस्य तथा नेताको क्षमता विकास, प्रशिक्षण र नेतृत्व निर्माणमा काम गर्ने प्रस्ताव छ।

त्यस्तै, गभर्नेन्स इन्स्टिच्युटले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई नीति, बजेट र सेवा प्रवाहमा विज्ञ तथा प्राविधिक सहयोग दिनेछ। कांग्रेस सरकारमा हुँदा सरकारका प्राथमिकता र कार्यक्रमको तयारी तथा अनुगमन गर्ने र प्रतिपक्षमा रहँदा सरकारी नीति, कानुन र खर्चको समीक्षा गरी वैकल्पिक प्रस्ताव तयार गर्न सहयोग गर्ने अवधारणा छ।

उम्मेदवार छनोटमा पनि गभर्नेन्स इन्स्टिच्युट जोडिनेछ। चुनावका आकांक्षीले नेतृत्वसम्बन्धी प्रशिक्षण लिनुपर्ने र अन्तिम उम्मेदवारले निर्वाचित भएपछि गर्ने कामबारे सार्वजनिक प्रतिबद्धता जनाउनुपर्ने प्रस्ताव गरिएको छ।

कांग्रेसले पार्टी सदस्यबाहेक आम नागरिकसँग पनि प्रत्यक्ष संवाद गर्न भौतिक तथा डिजिटल ‘नागरिक संवाद मञ्च’ बनाउने योजना अघि सारेको छ। साथै, नागरिकका सुझाव र प्रश्नलाई सम्बन्धित प्रतिष्ठानमार्फत नीति निर्माणमा जोड्ने प्रस्ताव छ।

दस्ताबेज महाधिवेशनबाट पारित भए कांग्रेसको नीति निर्माण, नेतृत्व विकास र जनप्रतिनिधिको कार्यसम्पादनलाई संस्थागत गर्ने नयाँ संरचना लागू हुने कांग्रेसले जनाएको छ।

सोल्टीमा ब्रिटिस एजुकेसन ग्रुपको संयुक्त दीक्षान्त, ‘क्लास अफ २०२६’ का विद्यार्थी सम्मानित

काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुप (बीईजी) ले ‘क्लास अफ २०२६’ अन्तर्गतका विद्यार्थीको संयुक्त दीक्षान्त समारोह आयोजना गरेको छ। काठमाडौंस्थित सोल्टी होटलमा भएको कार्यक्रममा समूहअन्तर्गतका चारवटै शैक्षिक संस्थाका विद्यार्थीलाई उपाधि तथा विभिन्न शैक्षिक योग्यता प्रदान गरिएको हो।

द ब्रिटिस कलेज (टीबीसी), ब्रिटिस इन्टरनेसनल कलेज, ब्रिटिस मोडल कलेज र ब्रिटिस प्रोफेसनल कलेजका स्नातक विद्यार्थी समारोहमा सहभागी थिए। टीबीसीको १२औँ दीक्षान्त समारोहलाई यसपटक समूहस्तरीय संयुक्त कार्यक्रमका रूपमा आयोजना गरिएको थियो।

समारोहमा व्यवस्थापन, कम्प्युटिङ, सूचना प्रविधि, लेखालगायत विषयका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थी सहभागी थिए। एक्जिक्युटिभ एमबीए, एमबीए, एमएससी आईटी, एमएससी एडभान्स्ड कम्प्युटर साइन्स, एमएससी प्रोफेसनल एकाउन्टेन्सी, एसीसीए, बीबीए, बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक्स तथा ए लेभलका विद्यार्थीले उपाधि तथा प्रमाणपत्र प्राप्त गरे।

विद्यार्थीहरूले लिड्स बेकेट युनिभर्सिटी, युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्ड, कील युनिभर्सिटी, युनिभर्सिटी अफ लन्डन, एसीसीए र क्याम्ब्रिज इन्टरनेसनलसँगको शैक्षिक साझेदारीअन्तर्गत विभिन्न उपाधि तथा योग्यता हासिल गरेका हुन्।

शैक्षिक जुलुसबाट सुरु भएको समारोहमा नेपाल र बेलायतको राष्ट्रिय गान बजाइएको थियो। त्यसपछि बीईजीका समूह प्रमुख कार्यकारी अधिकृत राजेन कंडेलले पानस बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरे।

समारोहलाई सम्बोधन गर्दै कंडेलले दीक्षित विद्यार्थीहरू समूहको ठूलो पूर्वविद्यार्थी सञ्जालमा जोडिएको बताए। उनले आगामी अध्ययन, रोजगारी तथा व्यावसायिक यात्रामा अघि बढ्दा पनि शैक्षिक संस्थासँगको सम्बन्ध कायम राख्न आग्रह गरे। विद्यार्थीको मेहनतसँगै अभिभावक र प्राध्यापकको सहयोग महत्वपूर्ण रहेको उनले उल्लेख गरे।

कार्यक्रममा द ब्रिटिस कलेजका सल्लाहकार पल क्लिभ्स एमबीई र बेलायतस्थित भुटानका प्रथम मानार्थ महावाणिज्यदूत तथा टीबीसीका पूर्वसल्लाहकार माइकल रटल्यान्ड ओबीईले विद्यार्थीलाई आगामी शैक्षिक तथा व्यावसायिक यात्राका लागि शुभकामना दिए।

लिड्स बेकेट युनिभर्सिटीका वरिष्ठ प्रतिनिधि डेभ चेस्ली पनि समारोहमा सहभागी थिए। युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्डका उपकुलपति प्रोफेसर स्टिभ वेस्ट सीबीई, कील युनिभर्सिटीका उपकुलपति प्रोफेसर केभिन शेकशेफ र युनिभर्सिटी अफ लन्डनका साइमन क्लियरीले भिडियो सन्देशमार्फत दीक्षित विद्यार्थीलाई बधाई दिएका थिए।

समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई ‘एक्सलेन्स अवार्ड्स’ प्रदान गरिएको थियो। विद्यार्थी प्रतिनिधिले आफ्नो अध्ययन र दीक्षान्तसम्मको अनुभव पनि कार्यक्रममा सुनाएका थिए।

साथै, द ब्रिटिस कलेजका कन्ट्री डाइरेक्टर अरुण कंडेलले धन्यवाद ज्ञापन गरेपछि समारोह औपचारिक रूपमा सम्पन्न भएको थियो।

दसैँको टिकट कहिलेदेखि काट्न मिल्छ?

काठमाडौं । दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा छलफल गर्न यातायात व्यवस्था विभागले सरोकारवालाको बैठक बोलाएको छ।

चाडपर्वका बेला काठमाडौं उपत्यकाबाट विभिन्न जिल्लातर्फ जाने तथा बाहिरी जिल्लाबाट उपत्यका भित्रिने यात्रुको आवागमन सहज र सुरक्षित बनाउने उद्देश्यले अग्रिम टिकट बुकिङको व्यवस्था गर्न लागिएको विभागले जनाएको छ।

विभागले सोमबार पत्र जारी गर्दै बैठकमा सहभागी हुन सम्बन्धित निकायका प्रतिनिधिलाई बोलाएको हो। बैठक असोज २० गते मंगलबार बिहान ११ बजे विभागको मीनभवनस्थित सभाहलमा बस्नेछ।

बैठकमा सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ कहिलेदेखि खुलाउने, चाडपर्वका बेला यात्रु व्यवस्थापन कसरी गर्ने तथा यातायात सञ्चालनलाई थप सुरक्षित र व्यवस्थित बनाउने विषयमा छलफल हुने बताइएको छ।

यातायात व्यवस्था विभागको सवारी अनुगमन, मापदण्ड तर्जुमा तथा सवारी चालक व्यवस्थापन शाखाकी अधिकृत प्रतिमा ढकालले जारी गरेको पत्रमार्फत प्रहरी प्रशासन, यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिलाई बैठकमा सहभागी हुन आग्रह गरिएको छ।

चाडपर्वका समयमा ठूलो संख्यामा मानिस काठमाडौं उपत्यकाबाट बाहिरिने भएकाले अग्रिम टिकट बुकिङको व्यवस्थालाई यात्रु आवागमन व्यवस्थापनको महत्वपूर्ण माध्यमका रूपमा लिइन्छ। बैठकबाट यस वर्षको अग्रिम टिकट बुकिङसम्बन्धी निर्णय हुने अपेक्षा गरिएको छ।

कोरला नाका जोड्ने बेनी-जोमसोम सडक अझै एक साता नखुल्ने

काठमाडौं । चीनसँगको खुला व्यापारिक नाका कोरला जोड्ने बेनी–जोमसोम सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै करिब एक साता लाग्ने भएको छ।

सडक विभागका अनुसार मालढुंगा–बेनी–जोमसोम–कोरला सडकअन्तर्गत घासा–कोरला खण्डमा दुईतर्फी यातायात सञ्चालनमा आइसकेको छ। तातोपानी क्षेत्रमा सडक कटान भएको ठाउँमा ब्याक कटिङ तथा टेवा पर्खाल निर्माण गरेर यातायात सञ्चालन गरिएको विभागले जनाएको छ।

पोखरेबगर पुलको एप्रोच सडक निर्माण भने जारी छ। त्यस्तै, पोखरेबगर आसपासको रातोपानी क्षेत्रमा पनि सडकको ट्र्याक खोलिएको विभागको भनाइ छ।

रातोपानीका दुई स्थानमा सडक पूर्ण रूपमा भत्किएकाले पैदल आवतजावतसमेत हुन सकेको छैन। भीरकाटे नजिक पनि सडकको अवस्था उस्तै छ। बेगखोला आसपास करिब १ सय मिटर सडक पूर्ण रूपमा भासिएको विभागले जनाएको छ।

बैसेरीमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध छ। राहुघाटदेखि सिरुबारीसम्म भने एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको छ।

कुनेटो क्षेत्रमा क्याकफिलिङको काम भइरहेको छ। विभागका अनुसार मुख्य कटान भएका र पहिरोले क्षति पुर्‍याएका स्थानमा आइतबारदेखि थप काम अघि बढाइनेछ।

सडकको क्षतिग्रस्त भागमा पुनर्निर्माण र अवरोध हटाउने काम जारी रहे पनि बेनी–जोमसोम–कोरला सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन अझै करिब ६ दिन लाग्ने विभागको अनुमान छ।

कांग्रेस बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ।

विशेष महाधिवेशनबाट गठित वर्तमान केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले बन्दसत्रमा प्रस्तुत हुने प्रस्तावहरू पारित गरेपछि प्रतिनिधिहरूलाई विभिन्न समूहमा विभाजन गरेर छलफल थालिएको हो।

बन्दसत्रलाई हिमाल, पहाड र तराई–मधेस गरी तीन क्लस्टरमा विभाजन गरिएको छ। त्यसका लागि छुट्टाछुट्टै हलको व्यवस्था गरिएको छ। प्रदेश तथा विभिन्न समूहबाट आएका प्रतिनिधिलाई सम्बन्धित क्लस्टरअनुसार हलमा राखिएको कांग्रेसले जनाएको छ।

हिमाल हलमा कोशीका १ हजार ११७, कर्णालीका २९९ र गण्डकीका ७१५ गरी २ हजार ३३१ प्रतिनिधि छन्। पहाड हलमा बागमतीका १ हजार २१७ र लुम्बिनीका १ हजार ९ गरी २ हजार २२६ प्रतिनिधि सहभागी छन्।

त्यस्तै, तराई–मधेस हलमा मधेश प्रदेशका १ हजार २५६, सुदूरपश्चिमका ६५०, जनसम्पर्क समितिका २४५ र भ्रातृ संस्थाका २२५ प्रतिनिधि सहभागी छन्।

बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्री प्रदीप पौडेलको पार्टी सञ्चालन तथा विधानसम्बन्धी प्रस्ताव र उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने समसामयिक प्रस्तावमाथि छलफल हुने भएको छ।

महाधिवेशनअघि बसेको केन्द्रीय समिति बैठकले यी प्रस्तावहरूलाई बन्दसत्रमा लैजाने निर्णय गरेको थियो। प्रवक्ता देवराज चालिसेका अनुसार विशेष महाधिवेशनबाट बनेको वर्तमान केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठक हो।

सभापति थापाको राजनीतिक प्रस्तावमा आगामी चार वर्षका लागि कांग्रेसले लिने राजनीतिक दिशा, सरकार सञ्चालन, मुलुकको समग्र अवस्था तथा अन्तर्राष्ट्रिय सम्बन्धबारे पार्टीको दृष्टिकोण समेटिएको छ। लोकतान्त्रिक संस्थालाई थप सबल बनाउनु आगामी दिनको मुख्य चुनौती भएको कांग्रेसको निष्कर्ष छ। राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई पार्टीको मूल सिद्धान्तका रूपमा निरन्तर अघि बढाउने प्रस्तावमा उल्लेख गरिएको छ।

कांग्रेसले आगामी निर्वाचनमा उम्मेदवार छनोटको प्रक्रियामा समेत सुधार गर्ने तयारी गरेको छ। नेतृत्व विकास र क्षमता अभिवृद्धिलाई प्राथमिकता दिँदै पार्टीको नेतृत्व एकेडेमीबाट प्रशिक्षण तथा अध्ययन पूरा गरेका व्यक्तिलाई उम्मेदवार बनाउन सकिने अवधारणा अघि सारिएको छ।

विधान संशोधनसम्बन्धी प्रस्तावमा पनि पार्टीको संगठनात्मक संरचना परिवर्तनको प्रारम्भिक खाका प्रस्तुत गरिएको छ। वडा, क्षेत्र र जिल्ला तहमा थप पद सिर्जना गर्ने प्रस्तावसमेत त्यसमा समेटिएको छ।

महामन्त्री पौडेलको प्रस्तावमा पार्टीभित्र निर्णय प्रक्रिया, विभिन्न तहको जिम्मेवारी र संगठन सञ्चालनको ढाँचालाई व्यवस्थित गर्ने विषय समेटिएको प्रवक्ता चालिसेले बताए।

तर प्रस्तावित संगठनात्मक संरचना अन्तिम भने भइसकेको छैन। प्रतिनिधिहरूबीच छलफलपछि बन्दसत्रले पारित गरे मात्रै विधान संशोधन तथा नयाँ संरचनाले अन्तिम रूप पाउने कांग्रेसले जनाएको छ।

प्रधानमन्त्री शाह भन्छन्- ‘ढुक्क हुनुस्, सरकार छ’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भदौ १० गतेयता देखिएका विपद्का घटनामा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर उद्धार तथा व्यवस्थापनको काम भइरहेको बताएका छन्।

सिंहदरबारमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरेर विपद् व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइएको बताए।

बैठकमा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीसमेत सहभागी थिए।

उनीहरूलाई आश्वस्त पार्दै प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनमा कुनै सम्झौता नगरी सरकारले काम गरिरहेको बताए।

उनले भने, ‘उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं। त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु।’

भोटेकोशी, त्रिशूली, गण्डकीलगायत क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययनसँगै प्रभावित क्षेत्रमा व्यवस्थापनको काम अघि बढिरहेको पनि उनले जानकारी दिए।

प्रधानमन्त्री शाहले भविष्यमा विपद्को जोखिम घटाउन पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको बताए।

हिमपहिरोको जोखिम न्यूनीकरणका लागि पनि सरकारले आवश्यक काम अघि बढाइरहेको उनको भनाइ थियो।

विपद्का बेला आफ्नो ज्यानसमेत जोखिममा राखेर उद्धार तथा व्यवस्थापनमा खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक र राजनीतिक दलका प्रतिनिधिसहित सबैप्रति प्रधानमन्त्री शाहले आभार व्यक्त गरे।

जितिया सकियो, चिलो-सिएरोदेखि गौरगाङ्गसम्मको पूजा [तस्वीरहरू]

चितवन । सन्तानको सुख, स्वास्थ्य, दीर्घायु र उन्नतिको कामनासहित थारू समुदायका महिलाले मनाउँदै आएको जितिया पर्व सोमबार विधिवत् समापन भएको छ।

पर्वको अन्तिम दिन चितवनको कालिका नगरपालिका–५ स्थित खगेरी खोला किनारमा व्रतालु महिलाहरू बिहानैदेखि भेला भएका थिए। तीन दिनसम्म चल्ने पर्वमा सप्तमीका दिन दर खाएर अष्टमीमा कठोर व्रत बसेका महिलाहरूले सोमबार बिहान पवित्र स्नान गरी विभिन्न धार्मिक अनुष्ठान पूरा गरेका हुन्।

खगेरी खोलामा स्नान गरेपछि महिलाहरूले सूर्यदेवलाई जल तथा अर्घ्य चढाए। त्यसपछि अघिल्लो दिन विष्णुको प्रतीकका रूपमा स्थापना गरिएको जितबाहन तथा पिपलको हाँगाबाट तयार पारिएका चिल र स्यालका आकृति अर्थात् ‘चिलो–सिएरो’लाई खोलामा विसर्जन गरिएको थियो।

कालिका–५ की निरु चौधरीका अनुसार अष्टमीका दिन महिलाहरू दिनभर निराहार बसेर साँझ जितबाहनको धार्मिक कथा सुन्ने गर्छन्। त्यसपछि अन्तिम दिन बिहान स्नान, सूर्यपूजा र विसर्जनलगायतका विधि पूरा गरेर व्रत समापन गर्ने परम्परा छ।

जितबाहन विसर्जनपछि महिलाहरूले खोलाकै चोखो माटोबाट साना बालबालिकाको आकृति बनाए। ‘गौरगाङ्ग’ भनिने यी आकृतिलाई सन्तानको प्रतीक मानेर सिन्दूर र काजल लगाई पूजा गर्ने चलन छ।

जितियामा ‘जाकुरी’को पनि विशेष धार्मिक महत्त्व मानिन्छ। अघिल्ला दिनमा उमारेर राखिएको मासको दाललाई जाकुरी भनिन्छ। व्रतालुले शुद्ध मनले विधिपूर्वक व्रत बसेमा जाकुरी राम्रोसँग उम्रिने र देखावटी रूपमा व्रत बस्नेको जाकुरी राम्रो नहुने जनविश्वास थारू समुदायमा रहेको छ।

महिलाहरूले गौरगाङ्गलाई जाकुरी र अघिल्लो दिन टिपेर राखिएको बेलपत्रले ढाकेर पूजा गरेका थिए। त्यसपछि सूर्यदेवको आराधना र अन्य विधि पूरा गरी पुनः खोलामा स्नान गरे।

अन्त्यमा अघिल्लो रात जितबाहनको कथा सुन्दा राखिएका पवित्र सामग्री र प्रसादलाई मिसाएर भुटी ग्रहण गरेपछि महिलाहरूले कठोर व्रतको पारण गरेका छन्। यससँगै यस वर्षको जितिया पर्वको धार्मिक विधि पूरा भएको हो।


 

कांग्रेसमा उपसभापति-महामन्त्री थपिँदै, पदाधिकारी कति पुग्लान्?

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको पदाधिकारी संरचना विस्तार गर्ने तयारी गरेको छ। प्रस्तावित विधान संशोधनअनुसार अब चार जना उपसभापति र तीन जना महामन्त्री रहनेछन्। दुवै पदमा कम्तीमा एक जना महिला अनिवार्य हुने व्यवस्था गर्न लागिएको छ।

हाल कांग्रेसमा दुई जना उपसभापति र दुई जना महामन्त्री रहने व्यवस्था छ। संशोधित संरचनामा उपसभापतिको संख्या बढाएर चार पुर्‍याइनेछ। चारमध्ये एक जनालाई वरिष्ठ उपसभापतिको जिम्मेवारी दिने गरी नयाँ पद सिर्जना गर्न लागिएको हो। उपसभापति र महामन्त्री सबै निर्वाचित हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

त्यस्तै, महामन्त्रीको संख्या पनि दुईबाट बढाएर तीन पुर्‍याइनेछ। तीनमध्ये एक जना महिला हुने व्यवस्था विधानमै समेट्न लागिएको छ।

सहमहामन्त्रीको संख्या पनि थपिने भएको छ। हाल ११ जना सहमहामन्त्री रहने व्यवस्था रहेकोमा त्यसलाई बढाएर १३ पुर्‍याउने तयारी छ। प्रस्तावित संरचनामा आठ जना समावेशिताका आधारमा, दुई जना खुलातर्फबाट र तीन जना सभापतिबाट मनोनीत हुनेछन्।

अघिल्लो महाधिवेशनबाट समावेशिताका आधारमा आठ जना सहमहामन्त्री रहने व्यवस्था गरिएको थियो। नयाँ प्रस्ताव पारित भए कांग्रेसको पदाधिकारी संरचना २१ सदस्यीय हुनेछ।

केन्द्रीय सदस्यको संख्या पनि बढाउने तयारी छ। खुलातर्फबाट निर्वाचित हुने केन्द्रीय सदस्यको संख्या ३५ बाट बढाएर ४५ पुर्‍याउने प्रस्ताव छ। खुला समूहको संख्या बढाउँदा अन्य क्लस्टरमा समेत केन्द्रीय सदस्य थप गर्नुपर्ने माग पार्टीभित्र उठेको एक नेताले बताए।

ती नेताका अनुसार उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यको संख्या बढाउने विषयमा शीर्ष तहमा सहमति जुटिसकेको छ। यद्यपि केन्द्रीय समितिको कुल संख्या कति पुर्‍याउने भन्ने विषयमा छलफल जारी छ।

कांग्रेसले यसअघि २३१ सदस्यीय केन्द्रीय समिति रहने गरी विधान बनाएको थियो। अब त्यसैलाई संशोधन गर्दै केन्द्रीय समितिको आकारसमेत बढाउने तयारी गरिएको हो।

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन्। बेलायती सेनाका प्रमुख जनरल रोली वाकरको निमन्त्रणामा उनी बेलायत गएका हुन्।

नेपाली सेनाका अनुसार प्रधानसेनापति सिग्देलको भ्रमण असोज १९ देखि २५ गतेसम्म हुनेछ। भ्रमणका क्रममा दुई देशबीच लामो समयदेखि कायम रहेको सैनिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा योगदान पुर्‍याउने अपेक्षा नेपाली सेनाले गरेको छ।

बेलायत प्रस्थान गर्नुअघि प्रधानसेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गरेका थिए।

साथै, प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजंग केसीलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिइएको छ।

प्रि-ओपनमै नेप्से घट्यो, ३४ कम्पनीको सेयर मूल्य ओरालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारको प्रि-ओपन सेसनमै नेप्से परिसूचक घटेको छ। प्रि-ओपनमा नेप्से १.०१ अंकले घटेर २ हजार ५८६.२३ विन्दुमा पुगेको छ।

यसअघि शुक्रबार नेप्से ११.९० अंकले घटेर २ हजार ५८७.२५ विन्दुमा बन्द भएको थियो। सोमबारको प्रि–ओपन सेसनमा भने सेन्सेटिभ इन्डेक्स ०.०५ अंकले बढेको छ।

प्रि-ओपनमा ६३ वटा कम्पनीका ६ हजार ३८९ कित्ता सेयर १०८ पटक कारोबार भएका छन्। उक्त कारोबारबाट २४ लाख १३ हजार ८३० रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ।

कारोबार भएका कम्पनीमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने ३४ वटाको घटेको छ। १७ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

साथै, बजार खुलेसँगै अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि नेप्सेमा सुरुवाती दबाब देखिएको छ।

 

कांग्रेसमा १५ सहमहामन्त्री!

काठमाडौं । नेपाली कांग्रेसमा सहमहामन्त्रीको संख्या बढाएर १५ पुर्‍याइने भएको छ।

सोमबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले चार जना मनोनीत महिलासहित १५ जना सहमहामन्त्री रहने व्यवस्था गर्ने निर्णय गरेको हो।

यसअघि कांग्रेसमा आठ जना सहमहामन्त्री रहने व्यवस्था थियो। नयाँ संरचनाअनुसार सहमहामन्त्रीको संख्या सातले बढ्नेछ।

केन्द्रीय समितिले गरेको निर्णय कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रबाट पारित भएपछि मात्रै औपचारिक रूपमा कार्यान्वयनमा जानेछ।

कांग्रेस सभापति थापाले पेस गरे राजनीतिक प्रतिवेदन, निर्वाचनपूर्व गठबन्धन नगर्ने प्रस्ताव

काठमाडौ‌‌‌‍‍‍‍‍‍‌‌‌‌‌‌‌‌‌‍‌‌‌‌‌‌। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेस गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका छन्। प्रतिवेदनमा पार्टीको विगतको समीक्षा गर्दै आगामी चार वर्षका लागि राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्ताव गरिएको छ।

प्रतिवेदनमा कांग्रेसले पछिल्ला दुई दशकमा आफ्नो मूल उद्देश्यभन्दा पद र सत्तालाई प्राथमिकता दिएको स्वीकार गरिएको छ। गठबन्धन, भागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको तथा भ्रष्टाचार र अनियमिततामा आफ्नै पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्तता कमजोर बनाएको उल्लेख छ। युवापुस्तासँग पार्टीको दूरी बढेको विषयलाई पनि आत्मसमीक्षामा समेटिएको छ।

भदौ २३ र २४ को जनउभारलाई षड्यन्त्रका रूपमा मात्र व्याख्या गर्न नहुने प्रतिवेदनमा उल्लेख छ। सुशासन, अवसर र निष्पक्षताको माग नागरिकको जायज असन्तोष भएको स्वीकार गर्दै आन्दोलनका क्रममा भएको राज्यको बल प्रयोग, हिंसा, जनधनको क्षति र दमनबारे निष्पक्ष छानबिन गर्नुपर्ने प्रस्ताव गरिएको छ। दोषीलाई कानुनी कारबाही तथा पीडितलाई सत्य, न्याय र परिपूरण सुनिश्चित गर्नुपर्ने पनि प्रतिवेदनमा भनिएको छ।

फागुन २१ को निर्वाचनमा कांग्रेसको पराजयलाई पछिल्ला दुई दशकदेखि बढ्दै गएको नागरिक दूरी र राजनीतिक कमजोरीको परिणामका रूपमा समीक्षा गरिएको छ। निर्वाचनको जनादेश स्वीकार गर्दै कांग्रेसले संसद्मा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने तथा सरकारका कामकारबाहीको प्रभावकारी निगरानी गर्ने प्रस्ताव गरेको छ।

आगामी निर्वाचनमा कुनै पनि दलसँग निर्वाचनपूर्व गठबन्धन नगरी आफ्नै चुनाव चिह्न, उम्मेदवार र एजेन्डासहित जनतामाझ जाने प्रस्ताव प्रतिवेदनमा गरिएको छ। उम्मेदवार छनोटमा गुट, पहुँच र संरक्षणभन्दा योग्यता, योगदान र कार्यसम्पादनलाई प्राथमिकता दिने तथा प्राइमरी निर्वाचन, सार्वजनिक मतसर्वेक्षण र सदस्यको प्रत्यक्ष मतलाई महत्व दिने प्रस्ताव गरिएको छ।

सरकारको निगरानीका लागि ‘छायाँ सरकार’को अभ्यास गर्ने, विकास आयोजना तथा बजेट खर्चको विवरण नागरिकले प्रत्यक्ष हेर्न सक्ने डिजिटल ड्यासबोर्ड निर्माण गर्ने र सरकार तथा निजी क्षेत्रबीचको सम्बन्धलाई सहकार्य र साझेदारीमा अघि बढाउने प्रस्ताव पनि प्रतिवेदनमा छ।

त्यस्तै, पार्टीभित्र भ्रष्टाचार नियन्त्रण गर्न उच्च नैतिक मापदण्ड लागू गर्ने, वित्तीय पारदर्शिता र सार्वजनिक लेखापरीक्षण अनिवार्य गर्ने तथा भ्रष्टाचारसम्बन्धी छानबिनका लागि स्वतन्त्र आन्तरिक ‘ओम्बुड्सम्यान’ गठन गर्ने प्रस्ताव गरिएको छ।

प्रतिवेदनमा प्रधानमन्त्री कुनै व्यक्ति दुई कार्यकालभन्दा बढी रहन नपाउने संवैधानिक व्यवस्थाका लागि पहल गर्ने प्रस्ताव पनि गरिएको छ। विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने, शहीद परिवार, घाइते तथा विस्थापित कार्यकर्ताको सहयोगका लागि १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने र जेनजी पुस्ताको असन्तोष तथा माग अध्ययन गर्न स्वतन्त्र युवा विज्ञ सम्मिलित विशेष कार्यदल गठन गर्ने प्रस्तावसमेत समेटिएको छ।

‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणालाई अघि सार्दै शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, उत्पादन, प्रविधि, जलवायु परिवर्तन, संघीयता र राष्ट्रिय स्वाधीनतालाई पार्टीको भावी कार्यदिशासँग जोडिएको छ। चार वर्षको नेतृत्व अवधिमा नीति, संगठन र कार्यक्रमको नियमित समीक्षा गर्दै परिणामका आधारमा नेतृत्वको मूल्याङ्कन गर्ने प्रणाली विकास गर्ने प्रस्ताव पनि प्रतिवेदनमा गरिएको छ।

 

पश्चिमी वायुको असर, पानीसँगै हिमपात!

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका सबै भूभाग तथा गण्डकी र लुम्बिनीका पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव छ। यस्तै, कोशी, मधेश र बागमतीका सबै भूभाग तथा गण्डकी र लुम्बिनीका बाँकी क्षेत्रमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल हिमाली र पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ। लुम्बिनीको तराई क्षेत्रमा पनि आंशिक बदली रहेको छ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा छ। कोशीका थोरै स्थान तथा बागमती र लुम्बिनीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली भूभाग तथा देशका तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा वा हिमपात हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ।

मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका एक–दुई स्थानमा पनि मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

राति कोशी, मधेश, बागमती र गण्डकीका साथै लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभाग र कर्णालीको पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा भने आंशिक बदली रहनेछ।

रातिको समयमा कोशी, बागमती र गण्डकीका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, मधेश, कोशी, बागमती र गण्डकीका तराई भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

 

भाेलि परिषद्को बैठक बस्दै

काठमाडौं । सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्ति गर्न सिफारिसलगायतका विषयमा छलफल गर्न न्याय परिषद्को बैठक बस्ने भएको छ।

स्रोतका अनुसार बैठकमा सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्ने विषयमा छलफल हुनेछ।

प्रधानन्यायाधीश मनोजकुमार शर्मा अध्यक्ष रहेको न्याय परिषद्मा कानुनमन्त्री सोविता गौतम, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेशकुमार नेपाल र दामोदर खड्का सदस्य छन्।

काँग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने नरेन्द्रकुमार केरुङको घोषणा

काठमाण्डौ। नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य नरेन्द्रकुमार केरुङले केन्द्रीय सदस्य पदमा उम्मेद्धारी दिने घोषणा गरेका छन् ।

बिशेष महाधिबेशनबाट केन्द्रीय सदस्यमा चयन भएका केरुङले १५ औँ महाधिबेशनमा कोशी प्रदेशबाट भूगोल तर्फ केन्द्रीय सदस्यको उम्मेद्धार बन्ने घोषणा गरेका हुन् ।

कुसल संगठक, प्रष्ट बक्ता र बौद्धिक नेताको छवी बनाएका केरुङले यसअघि काँग्रेस पाँचथरको दुई कार्यकाल सभापति भएर पार्टीको नेतृत्व गरिसकेका छन् ।

उनको राजनीति नेपाल विद्यार्थी संघबाट सुरु भएको थियो । २०४८ सालमा नेविसंघ जिल्ला सचिवको जिम्मेवारी सम्हालेपछि उनी क्रमशः शिक्षक र प्राध्यापकहरूको संगठनमार्फत सक्रिय राजनीतिमा स्थापित भएका नेता हुन् ।

२०५१ सालमा नेपाल शिक्षक संघको जिल्ला सह–सचिव बनेका केरुङ २०५७ देखि २०६७ सालसम्म ट्रेड युनियन कांग्रेस पाँचथरको सभापतिको भूमिकामा थिए ।

२०५५ देखि २०६७ सालसम्म पाँचथर बहुमुखी क्याम्पसमा प्राध्यापकको भूमिकामा रहेका केरुङ २०६७ सालदेखि पूर्णकालिन राजनीतिमा होमिएका थिए ।

कम उमेरमै जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका केरुङले लगातार दुई कार्यकाल, २०७८ सालसम्म पाँचथर काँग्रेसको नेतृत्व सम्हालेका हुन् ।

व्यवस्थापन सकायमा स्नातकोत्तरसम्म अध्ययन गरेका केरुङले बौद्धिक व्यक्तित्वको परिचय बनाएका छन् ।

जिल्ला स्तरको लामो राजनीतिक अनुभवलाई अब केन्द्रीय राजनीतिमा परिणत गरेर देशको सेवामा समर्पित हुने केरुङको भनाई छ।

मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं।सरकारले आज मन्त्रिपरिषद् बैठक बोलाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार दिउँसो ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्ताव तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

बराम युवालाई जोड्न काठमाडौंमा फुटसल कप

काठमाडौं । बराम जातिका युवालाई एकजुट गराउने उद्देश्यले काठमाडौंमा आयोजित प्रथम बराम फुटसल कप सम्पन्न भएको छ। नेपाल बराम समाजले आयोजना गरेको प्रतियोगितामा २४ टोलीले सहभागिता जनाएका थिए।

बुढानीलकण्ठस्थित देवी स्पोर्ट्स हाउसमा भएको प्रतियोगिताको फाइनलमा थुमी युवा क्लबले गाउँले एकता बराम क्लबलाई ३–२ गोलले पराजित गर्दै उपाधि जितेको हो। उपविजेता गाउँले एकता बराम क्लबमा सीमित भयो।

उपाधिसँगै थुमी युवा क्लबले २० हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरेको छ। दोस्रो भएको गाउँले एकता बराम क्लबले १० हजार रुपैयाँ नगदसहित ट्रफी पाएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि विभिन्न विधामा पुरस्कृत गरिएको थियो। गाउँले एकता बराम क्लबका सन्देश बराम उत्कृष्ट खेलाडी घोषित भए भने थुमी युवा क्लबका सचिन बराम उत्कृष्ट गोलकिपर बने।

त्यस्तै, अन्नपूर्ण युवा क्लबका मनोज बरामले प्रतियोगिताभरि ८ गोल गर्दै सर्वाधिक गोलकर्ताको पुरस्कार पाए।

नेपाल बराम समाजका अध्यक्ष सागर बरामले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छरिएर रहेका बराम युवालाई एक ठाउँमा जोड्नुका साथै आफ्नो जाति, भाषा र संस्कृतिबारे जानकारी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।

बराम जाति नेपाल सरकारद्वारा सूचीकृत आदिवासी जनजातिमध्ये अति सीमान्तकृत समूहमा पर्छ। उपलब्ध तथ्यांकअनुसार बराम समुदायको जनसंख्या करिब ८ हजार रहेको छ भने काठमाडौं उपत्यकामा ६ सय ३७ जना बसोबास गर्छन्।

समाजका संरक्षक प्रेम बरामले बराम समुदायको मौलिक भाषा ‘बालकुरा’ लोपोन्मुख अवस्थामा रहेको बताए।

भाषा र संस्कृति संरक्षणसँग जोडिएका यस्ता सामुदायिक तथा खेलकुद गतिविधिले युवालाई आफ्नो मौलिक पहिचानप्रति सचेत बनाउन सहयोग पुग्ने उनको अपेक्षा छ।

कांग्रेसको बन्द सत्रअघि केन्द्रीय समिति बैठक जारी [तस्वीरहरू]

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्द सत्र सुरु हुनुअघि केन्द्रीय समिति बैठक बसिरहेको छ।

बन्द सत्रमा प्रस्तुत हुने विषय तथा महाधिवेशनका अन्य आवश्यक तयारीबारे छलफल गर्न केन्द्रीय समिति बैठक बसेको हो।

महाधिवेशन उद्घाटन समारोह सम्पन्न भएपछि कांग्रेस नेताहरू केन्द्रीय समिति बैठकमा जुटेका हुन्। बैठकपछि बन्द सत्र सुरु हुने तयारी छ।

कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंमा जारी छ। उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गरेका थिए।

संसदमा खुलामञ्च चाहिन्छ : सभापति थापा (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन मुलुकका हरेक क्षेत्रमा खुला बहस र संवादको थलो आवश्यक रहेको बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार भृकुटीमण्डपस्थित खुलामञ्चमा सम्बोधन गर्दै थापाले खुलामञ्चलाई भौतिक स्थानका रूपमा बुझ्न नहुने बताए। उनका अनुसार यो राजनीतिक स्मृति, बहस र नागरिक संवादको साझा थलो पनि हो।

संसद्मा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको प्रसंग उठाउँदै थापाले संसद् खुला र जीवन्त बहसको थलो बन्नुपर्ने बताए। ‘खुलामञ्च त संसद्मा चाहिएको छ, तर दुर्भाग्य अहिले संसद् खुला छैन, बन्द छ,’ उनले भने।

‘जुन दिनसम्म प्रधानमन्त्री संसद्मा सम्मानपूर्वक उपस्थित हुनुहुन्न, त्यो दिनसम्म संसद् खुला छैन, बन्द नै मानिनेछ,’ थापाले भने।

कांग्रेसको इतिहासमा खुलामञ्चले ठूला राजनीतिक संकल्प पूरा गर्न प्रेरणा दिएको उल्लेख गर्दै उनले १५औँ महाधिवेशनबाट पनि नयाँ संकल्पसहित अघि बढ्नुपर्ने बताए। देश र नागरिकबीच निरन्तर संवादका लागि खुला मञ्चको आवश्यकता रहेको उनको भनाइ थियो।

‘यो मतभेदलाई साझा मञ्चमा राख्ने थलो हो। देश र नागरिकका बीचमा संवादको खुला मञ्च चाहिएको छ,’ उनले भने।

थापाले सामाजिक सञ्जाललाई समेत गालीगलौजको माध्यम नभई तथ्य र तर्कसहितको बहस गर्ने खुला मञ्चका रूपमा विकास गर्नुपर्ने बताए।

पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन नेतृत्वमाथि प्रश्न उठाउने वातावरण आवश्यक रहेको उल्लेख गर्दै उनले प्रश्न गरेकै आधारमा कारबाही गर्ने नभई प्रश्नलाई स्वागत गर्ने संस्कार विकास गर्नुपर्ने बताए।

‘पार्टीभित्र नेतृत्वमाथि प्रश्न गर्दा कारबाही हुने होइन, प्रश्नलाई स्वागत गर्ने खुला मञ्च चाहिएको छ,’ थापाले भने।

‘म पनि कांग्रेस हुन्थेँ’ (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सकारात्मक र कमजोर पक्षमाथि टिप्पणी गर्दै केही अवस्था फरक भएको भए आफू पनि कांग्रेस बन्न सक्ने बताएका छन्।

आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले कांग्रेसभित्र निष्ठा, अवसरको समान वितरण र नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउने विषयमा प्रश्न उठाए।

‘यदि कांग्रेसले पार्टीमा निष्ठालाई पूँजी मान्नेहरूलाई महत्व दिएको भए, भौतिक पूँजी भएकाहरूलाई मात्र महत्व नदिएको भए म पनि कांग्रेस हुन्थेँ होला,’ उनले भने।

उनले अवसरबाट टाढा रहेका तथा पछाडि परेका समुदाय र क्षेत्रलाई प्रतिनिधित्व गराउने नाममा अवसर पाइसकेका व्यक्तिलाई नै प्राथमिकता दिने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए। त्यस्तै, कम उमेरमै नेतृत्वमा पुग्ने प्रेरणा कांग्रेसले दिएको भए आफू पनि कांग्रेस हुन सक्ने उनको भनाइ थियो।

लामिछानेले कांग्रेसले आफ्नै चुनाव चिह्न रुख छाडेर अन्यत्र मतदान गर्न निर्देशन नदिएको भए पनि आफू कांग्रेस हुन सक्ने बताए। यद्यपि, विगतका विषयमा अल्झिनुभन्दा अब देश निर्माणका लागि सबै दल मिलेर अघि बढ्नुपर्ने उनले बताए।

उनले राजनीतिक दलहरूले समानुपातिक र समावेशी प्रतिनिधित्वको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। राष्ट्रियता, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनजीविकाका सवालमा दलहरूबीच मतभेद नरहनुपर्ने उनको भनाइ थियो।

‘जब मुलुकको कुरा हुन्छ, जब संविधानको कुरा हुन्छ, जब संघीय लोकतान्त्रिक गणतन्त्रको कुरा आउँछ, जब जनजीविकाको कुरा आउँछ, त्यतिखेर पार्टी फरक हुँदैन, झण्डा फरक हुँदैन, नारा फरक हुँदैन। एउटै कुरा हुन्छ, मुलुक, मुलुक र मुलुक,’ उनले भने।

यही भावनाका साथ आफू कांग्रेसको महाधिवेशनमा सहभागी भएको लामिछानेले बताए। उनले मधेशको छोरालाई प्रधानमन्त्री बनाएर आएको प्रसंगसमेत उल्लेख गर्दै सबै समुदाय र क्षेत्रलाई समेटेर अघि बढ्नुपर्ने धारणा राखे।

आन्दोलनबाट सरकार ढल्दैन, पाँच वर्षसम्म सरकार चल्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार पाँच वर्षसम्म नढल्ने दाबी गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकार ढल्ने हल्ला नचलाउन आग्रह गरे। ‘यो सरकार पाँच वर्षसम्म ढल्दैन। सरकार ढल्छ भनेर हल्ला चलाउनेहरू बरु बेहोस भएर ढलान् तर सरकार ढल्दैन,’ उनले भने।

लामिछानेले आन्दोलनबाट सरकार परिवर्तन नहुने बताए। चाडपर्वपछि सरकार ढाल्ने उद्देश्यले आन्दोलन हुने चर्चा आफूले सुनेको भन्दै उनले त्यस्तो आन्दोलनबाट सरकार नढल्ने दाबी गरे।

‘सरकार ढाल्ने तागत जनतासँग मात्रै छ। हामीले काम गर्न सकेनौँ भने जनताले हाम्रो सरकार ढालिदिनेछन्,’ उनले भने।

लोकतन्त्र र संविधानको रक्षाका लागि रास्वपा सबै राजनीतिक शक्तिसँग सहकार्य गर्न तयार रहेको पनि लामिछानेले बताए। उनले रास्वपाले प्राप्त गरेको जनमतको अवमूल्यन नगर्न र सरकारप्रति अनावश्यक शंका नगर्न आग्रह गरे।

गगनले देशको नेतृत्व गर्ने बेला आयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति गगन थापाले अब देशको नेतृत्व गर्ने अवस्था आएको बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले विगतमा आफ्नो नेतृत्वको सरकारमा गगन थापा स्वास्थ्य मन्त्री रहेको स्मरण गरे। त्यतिबेलै आफूले गगनले देशको नेतृत्व गर्ने समय आउन सक्ने बताएको उनले उल्लेख गरे।

‘मैले त्यतिबेलै भन्थेँ, तपाईंले यो देशको नेतृत्व गर्ने बेला आउन सक्छ। आज आएको देख्छु, निकै ठूलो जिम्मेवारी उहाँको काँधमा आएको छ,’ प्रचण्डले भने।

उनले कांग्रेस सभापति थापाले पार्टीमा निरन्तरताको क्रम भंग गर्दै नयाँ इतिहासतर्फ डोर्‍याएको भन्दै बधाई दिए।

‘कांग्रेसमा निरन्तरताको क्रम भंग गर्दै कांग्रेसलाई नयाँ इतिहासमा डोहोर्‍याएकोमा गगन थापालाई बधाई,’ उनले भने।

प्रचण्डले कांग्रेसभित्र रूपान्तरणका लागि भूमिका खेल्ने नेता तथा प्रतिनिधिहरूलाई धन्यवादसमेत दिए। नयाँ पुस्ताले पुरानो पुस्तालाई अपमान गर्ने प्रवृत्ति देखाउन नहुने भन्दै उनले गगनलाई सबैलाई समेटेर अघि बढ्न सुझाव दिए।

नयाँ पुस्ताले विगतका पुस्ताको योगदानलाई सम्मान गर्दै सबैलाई साथमा लिएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

संविधान संशोधन संसद्को गणितमा सीमित हुनुहुँदैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधन सत्ता र प्रतिपक्षको चाहना वा संसद्को अंकगणितमा मात्रै सीमित हुन नहुने बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले संविधानले परिकल्पना गरेअनुसार १० वर्षपछि यसको मूल्याङ्कन र आवश्यक सुधारका लागि सरकारलाई सहयोग गर्ने बताए।

‘संविधान संशोधनको विषय संसद्को गणितको विषय मात्रै बन्नुहुँदैन। संविधान संशोधन गरिरहँदा या संविधान लेखन गरिरहँदा त्यो केवल गणितको विषय बन्दैन, त्यो समग्रताको भावना र अपनत्वको विषय बन्नुपर्छ,’ उनले भने।

संविधान संशोधनको पहल गर्दा संसद्मा प्रतिनिधित्व नभएका राजनीतिक दलहरूलाई समेत साथमा लिनुपर्ने शर्माको भनाइ थियो। संविधान सबैको साझा दस्तावेज भएकाले यसको संशोधन पनि व्यापक सहमति र अपनत्वका आधारमा हुनुपर्ने उनले बताए।

शर्माले जेनजी आन्दोलनले उठाएका मुद्दालाई सम्बोधन गर्दै युवाको भावनाको सम्मान गर्ने विषयमा कांग्रेसको साथ रहने बताए। फागुन २१ को निर्वाचनपछि नयाँ सरकार गठन भए पनि जनतामा रहेको आक्रोश र असन्तुष्टि नघटेको उनको भनाइ थियो।

रास्वपा सभापति रवि लामिछानेतर्फ संकेत गर्दै शर्माले नयाँ सरकार बनेपछि पनि जनताको आक्रोशलाई विश्वासमा बदल्न नसकिएको बताए।

‘नयाँ सरकार बन्दा पनि आवेगलाई किन विश्वासमा लिन सकिरहेका छैनौँ ? किन सामाजिक सञ्जालमा एकले अर्कालाई प्रहार गर्ने कुरामा आनन्दित छौँ ? हरेक मान्छे रिसाएको छ। हरेक मान्छे असन्तुष्ट र आक्रोशित छ,’ उनले भने।

सरकार स्वेच्छाचारी बाटोतर्फ जान खोजेको शंकर पोखरेलको आरोप

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार जनता, संसद् र राजनीतिक दलसँग संवाद नगरी स्वेच्छाचारी बाटोतर्फ अघि बढ्न खोजेको आरोप लगाएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार सम्बोधन गर्दै पोखरेलले राष्ट्रिय मुद्दामा राजनीतिक दलहरूबीच संवाद आवश्यक भए पनि सरकारले त्यसतर्फ ध्यान नदिएको बताए।

उनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय मुद्दामा दलहरूलाई एक ठाउँमा ल्याउन पहल गरिरहेको उल्लेख गर्दै सरकार भने राजनीतिक दल, संसद् र नागरिकसँग संवाद गर्न तयार नदेखिएको बताए।

‘सरकार राजनीतिक दलहरूसँग संवाद गर्दैन । सरकार संसद्सँग संवाद गर्दैन । नागरिकसँग संवाद गर्दैन । सरकार चुनौतीको सामना गरेर जाने कुरामा संकल्प गर्न सक्दैन,’ पोखरेलले भने।

सरकारको यस्तो कार्यशैलीले आगामी प्राकृतिक विपद् तथा अन्य संकटको सामना कसरी गर्ने भन्नेमा समेत गम्भीर प्रश्न खडा गरेको उनको भनाइ थियो।

पोखरेलले लोकतन्त्रको भविष्यप्रति समेत चिन्ता व्यक्त गरे। जनताबाट निर्वाचित प्रधानमन्त्रीले आफ्नै संसदीय दल, संसद् र जनताको आवाज नसुन्ने अवस्था आउनु गम्भीर विषय भएको उनले बताए।

‘यस्तो अवस्थामा लोकतन्त्रको भविष्यतर्फ हामी हिँड्दैछौँ कि स्वेच्छाचारी शासनतर्फ हामी हिँड्दैछौँ भन्ने प्रश्न उठिरहेको छ,’ उनले भने, ‘लोकतन्त्रका लागि लडेको नेपाली कांग्रेस लोकतन्त्रको रक्षाका प्रश्नमा कसरी अघि बढ्छ भन्ने महत्वपूर्ण प्रश्न बनेको छ।’

देश अझै सही बाटोमा छैन, नयाँ सहमति आवश्यक : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक नेतृत्व र सत्ता परिवर्तन भए पनि जनताले चाहेजस्तो समाज निर्माण हुन नसकेको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सभालाई काठमाडौंको खुलामञ्चमा सम्बोधन गर्दै उनले राजनीतिक दल र शक्तिमा आएको परिवर्तनले मानिसहरू बदलिए पनि जनताका इच्छा र आकांक्षा पूरा गर्ने काम बाँकी रहेको बताए।

लिङ्देनले देशको राजनीतिक अवस्था झन् अस्थिर बन्दै गएको टिप्पणी गरे। ‘देश अँध्यारो सुरुङतर्फ प्रवेश गरेको छ। राजनीतिक तरलता झन् बढेर गएको छ,’ उनले भने, ‘दलहरूसँग आग्रह छ, अहिले पनि देश ठीक ठाउँमा आएको छैन। लिकभन्दा बाहिर गएको छ।’

उनले विगतमा विरोध गर्नेहरूमाथि गोली प्रहार हुने गरेको र अहिले सामाजिक सञ्जालमार्फत प्रहार हुने गरेको उल्लेख गर्दै समस्या व्यवहार र व्यवस्थामै रहेको बताए।

संविधान निर्माणका बेला राखिएका राम्रा सोचलाई कार्यान्वयनका क्रममा आवश्यकताअनुसार सुधार गर्दै जानुपर्ने उनको भनाइ थियो। विगतमा राजाबाट राजनीतिक दलहरूलाई निषेध गरिएको र दलहरूबाट पनि राजालाई निषेध गर्ने प्रवृत्ति देखिएको भन्दै उनले निषेधको राजनीतिले कसैको हित नगर्ने बताए।

लिङ्देनले २००७, २०४६ र २०६२/६३ सालका राजनीतिक परिवर्तन तथा जेनजी आन्दोलनपछि विकसित परिस्थितिलाई स्वीकार गर्दै नयाँ पुस्तासहितको नवीन राष्ट्रिय समझदारी आवश्यक रहेको बताए। यस्तो सहमतिबाट मात्रै मुलुकलाई सही दिशामा अघि बढाउन सकिने उनको धारणा थियो।

२० वर्षमा नेपाललाई विकसित देश बनाउने योजना बनाऔँ : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी २० वर्षभित्र नेपाललाई विकसित देशको स्तरमा पुर्‍याउने स्पष्ट योजना बनाउन राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देश विकासका लागि साझा लक्ष्य निर्धारण गरेर त्यसको कार्यान्वयनमा दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने बताएका हुन्।

मलेसिया, दक्षिण कोरिया, सिंगापुर र चीनले छोटो अवधिमा हासिल गरेको विकासको उदाहरण दिँदै भट्टराईले नेपालले पनि आगामी दुई दशकमा त्यस्तै प्रगति गर्न सक्ने बताए।

‘हाम्रै जीवनकालमा मलेसिया, कोरिया, सिंगापुर, चीनहरू ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे भने हामी पनि आगामी २० वर्षभित्र त्यहाँ कसरी पुग्ने ?’ उनले प्रश्न गरे।

उनले देश विकासको योजना बनाएर त्यसलाई कार्यान्वयन गर्ने विषयमा राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए। दलहरूले साझा विकास लक्ष्यलाई व्यवहारमा उतार्न सके मात्रै देश अघि बढ्ने उनको भनाइ थियो।

भट्टराईले राजनीतिक स्थिरताका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्ने पनि बताए। विगतका अनुभवबाट पाठ सिक्दै नयाँ पुस्तालाई नेतृत्व र जिम्मेवारी दिनुपर्ने उनको धारणा थियो।

कपाल र जुंगा कालो हुँदैमा देश बन्दैन : रेमशलाल चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक एवं संरक्षक रेमशलाल चौधरीले नयाँ पुस्ताका नेताहरूबाट पनि देश बनाउने स्पष्ट संकेत नदेखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले कपाल फुलेका पुराना नेताले देश बिगारे भन्ने भाष्य बने पनि कालो कपाल र जुंगा भएका नयाँ पुस्ताका नेताहरूले समेत परिवर्तनको भरोसा दिलाउन नसकेको टिप्पणी गरे।

कांग्रेस सभापति गगन थापातर्फ संकेत गर्दै चौधरीले आफूले उनलाई विश्वास गर्ने भए पनि देश बनाउने काममा नयाँ पुस्ताले आफ्नो क्षमता प्रमाणित गर्नुपर्ने बताए।

‘हिजो सबै कपाल फुलेर आफूलाई युवा हुँ भन्ने नेताहरूले देश बिगारे। अहिले कैला जुंगा भएका, पूरै कपाल काला भएकाले पनि देश बनाउने छनक देखाएका छैनन्,’ उनले भने।

चौधरीले अब गगन थापाजस्ता आधा कपाल र दाह्री फुलेका नेताहरूले देश बनाउने आशा आफूले राखेको बताए। उमेर वा बाहिरी रूपभन्दा काम र परिणामले नेतृत्वको क्षमता देखाउनुपर्ने उनको भनाइको आशय थियो।

रास्वपामा दम्भ र अहंकारको छुट छैन : विपीन आचार्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीनकुमार आचार्यले पार्टीका नेता–कार्यकर्तालाई दम्भ र अहंकारबाट टाढा रहन सचेत गराएका छन्। नागरिकको अपेक्षा उच्च रहेकाले पार्टीमा आबद्ध कसैले पनि सानातिना कमजोरी गर्ने छुट नभएको उनको भनाइ छ।

आइतबार रुपन्देहीको सियारीमा आयोजित पार्टी कार्यक्रममा बोल्दै आचार्यले सञ्चारमाध्यम र आम नागरिकले पार्टीका नेता–कार्यकर्ताका गतिविधि नजिकबाट नियालिरहेको बताए। कमजोरी सार्वजनिक हुनु सुधारको अवसर भएकाले त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने उनले उल्लेख गरे।

‘हामीसँग नागरिकको धेरै अपेक्षा रहेको छ। साना–साना कमजोरी पनि हामीलाई गर्ने छुट छैन। मिडियादेखि सबैले हाम्रा कमजोरी हेरिरहेको अवस्था छ,’ उनले भने, ‘रास्वपामा जोडिएका नेता, कार्यकर्ता मात्र होइन, शुभेच्छुकहरूले पनि यसमा विशेष ध्यान पुर्‍याउनुपर्नेछ।’

आचार्यले पार्टी र सरकारको कामलाई प्रभावकारी बनाउन सबैको साथ आवश्यक रहेको बताए। सरकारले गरेका सकारात्मक काम जनस्तरसम्म पुर्‍याउन र नागरिकका अपेक्षा पार्टी तथा सरकारसमक्ष राख्न स्थानीय कमिटीहरू थप संवेदनशील हुनुपर्ने उनको भनाइ थियो।

कांग्रेस महाधिवेशन : खुलामञ्चबाहिर कार्यकर्ताको छुट्टै रमाइलो [तस्वीरहरू]

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका लागि आइतबार खुलामञ्चमा नेताहरूको बाक्लो जमघट थियो। औपचारिक भाषण सुरु हुनुअघि नै मञ्चमा माल्यार्पणको चहलपहल चल्यो।

सभापति गगन थापाले कांग्रेसका संस्थापक तथा अग्रज नेताहरूको तस्बिरमा माल्यार्पण गर्दै महाधिवेशन उद्घाटन गरे। त्यसपछि दीप प्रज्वलन र बिरुवामा जल सेचन गरे।

उद्घाटन समारोहमा सहभागी विभिन्न दलका नेताहरूले पनि कांग्रेसका अग्रज नेताहरूको तस्बिरमा माल्यार्पण गरे। फरक दलका नेता एउटै ठाउँमा उभिएर श्रद्धा व्यक्त गरेको दृश्य खुलामञ्चको आकर्षण बन्यो।

यता खुलामञ्चमा नेता, प्रतिनिधि र अतिथिको आउजाउसँगै भेटघाट र कुराकानी पनि बाक्लिएको थियो।

भाषण सुरु हुनुअघि नै महाधिवेशनस्थल राजनीतिक भेटघाटको केन्द्र बनेको थियो।

 

किभमा भीषण प्रहारको चेतावनी, विदेशीलाई सहर छाड्न रुसको उर्दी

काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा थप भीषण सैन्य प्रहार गर्ने चेतावनी दिँदै विदेशी कूटनीतिज्ञ तथा नागरिकलाई तत्काल सहर छाड्न भनेको छ ।

रुसी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसअघि दिइएका चेतावनीलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाएको छ । आफ्नो चेतावनी नसुनी किभमै बस्नेहरूले जानीजानी ज्यान जोखिममा पारेको रुसी दाबी छ ।

रुसले चेतावनी बेवास्ता गर्नेहरूमाथि आइपर्ने जुनसुकै नकारात्मक परिणामको जिम्मेवारी उनीहरू स्वयंले लिनुपर्ने पनि स्पष्ट पारेको छ ।

मस्कोले यसअघि मे महिनामा पनि यस्तै चेतावनी दिएको थियो । तर युक्रेनका सहयोगी मुलुकका प्रमुखहरूले रुसी चेतावनीलाई बेवास्ता गर्दै किभ पुगेर युक्रेनप्रति ऐक्यबद्धता जनाएका थिए ।

पछिल्ला महिनामा किभमाथि रुसी हवाई आक्रमण तीव्र बनेको छ । किभका मेयर भिताली क्लित्स्कोले सहरको अवस्था अत्यन्तै गम्भीर बनेको बताएका छन् । उनका अनुसार रुसी सेनाले पुल तथा ऊर्जा पूर्वाधारलाई निशाना बनाइरहेको छ ।

यता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि नागरिक क्षेत्रमा भीषण आक्रमणको अनुमति दिएर युद्धका नियम उल्लङ्घन गरेको आरोप लगाएका छन् । क्रेमलिनले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

लगातारको हवाई आक्रमण र साइरनका कारण करिब ३० लाख जनसंख्या रहेको किभको जनजीवन अस्तव्यस्त बनेको छ । दिनभरजसो बज्ने साइरनसँगै नागरिकहरू सुरक्षित आश्रयस्थलतर्फ दौडिनुपर्ने अवस्था छ । सडकमा सवारीसाधनको लामो जाम लाग्दा कतिपय यात्रु पैदल हिँड्न बाध्य छन् ।

युक्रेनका पूर्वी, उत्तरी र मध्य क्षेत्रमासमेत रुसी आक्रमणका कारण विद्युत् आपूर्ति प्रभावित भएको छ । जाडो बढ्दै जाँदा ऊर्जा माग चुलिएको समयमा विद्युत् ग्रिड सञ्चालक उक्रेनर्गोले उपभोक्तालाई विद्युत् खपत घटाउन आग्रह गरेको छ ।

गत वर्षको जाडोमा तापक्रम माइनस २० डिग्री सेल्सियससम्म झर्दा कतिपय क्षेत्रमा दिनौंसम्म बिजुली र तातोपानी आपूर्ति ठप्प भएको थियो । यसपटक पनि युक्रेन कठिन हिउँदको सामना गर्ने तयारीमा छ ।

सन् २०२२ को फेब्रुअरीमा रुसले पूर्ण रूपमा आक्रमण सुरु गरेयता जारी युद्ध दोस्रो विश्वयुद्धपछि युरोपकै सबैभन्दा रक्तपातपूर्ण द्वन्द्वमध्ये एक बनेको छ ।

यसबीच, युद्धको अग्रभागमा युक्रेनले रुसी सेनाको दबाब रोकिराखेको देखिए पनि हवाई रक्षा प्रणालीको मौज्दात घट्दै जाँदा उसका प्रमुख सहरहरू रुसी आक्रमणको जोखिममा परेका छन् ।

शान्ति प्रयाससमेत यहीबीच अल्झिएको छ । रुसी सेनाले पूर्ण नियन्त्रणमा लिन नसकेका पूर्वी युक्रेनका भूभागसमेत युक्रेनले छाड्नुपर्ने मस्कोको अडान छ । यही विषयमा सहमति जुट्न नसक्दा अमेरिकाको मध्यस्थतामा अघि बढाइएका शान्ति प्रयासहरू समेत ठप्पजस्तै बनेका छन् ।

कांग्रेसको महाधिवेशन आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छ : उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५औँ महाधिवेशनलाई केवल नेतृत्व चयन वा पद व्यवस्थापनको प्रक्रियामा सीमित गर्न नहुने बताएकी छन्। उनले महाधिवेशनलाई पार्टीको आत्मसुधार, पुनर्जागरण र नीतिगत पुनर्संरचनाको अवसर बनाउनुपर्नेमा जोड दिएकी हुन्।

आइतबार काठमाडौंको खुलामञ्चमा सुरु भएको महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भुसालले जनताबीच कमजोर हुँदै गएको विश्वास पुनःस्थापित गर्न कांग्रेसले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताइन्। नयाँ पुस्ताका अपेक्षा र सवाललाई सम्बोधन गर्ने गरी पार्टीको आगामी दिशा तय गर्नुपर्ने उनको भनाइ थियो।

लोकतन्त्रका लागि लामो समयदेखि संघर्ष गर्दै आएको कांग्रेसले अब आफ्नो वर्तमान अवस्था र भविष्यको बाटो स्पष्ट पार्नुपर्ने जिम्मेवारी महाधिवेशनले लिनुपर्ने उनले बताइन्।

भुसालले महाधिवेशनलाई पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउने अवसरका रूपमा उपयोग गर्न प्रतिनिधिहरूलाई आग्रह गरिन्। केन्द्रबाट हुने निर्णय प्रक्रियालाई थप पारदर्शी बनाउँदै त्यसको प्रभाव र जानकारी तल्लो तहसम्म पुर्‍याउनुपर्ने उनको भनाइ छ।

देशको जनसंख्यामा ठूलो हिस्सा रहेको नयाँ पुस्ताले सुशासन, रोजगारी र भ्रष्टाचारमुक्त समाजको अपेक्षा गरिरहेको उल्लेख गर्दै भुसालले कांग्रेसले उनीहरूको आकांक्षा र भरोसालाई सम्बोधन गर्नुपर्ने बताइन्।

उनले कांग्रेसका नेता तथा कार्यकर्तामात्र नभई लोकतान्त्रिक विचारमा विश्वास गर्ने सबैलाई महाधिवेशनलाई आत्मसमीक्षा गर्ने अवसरका रूपमा लिन आग्रह गरिन्। पार्टीको कमजोरी पहिचान गरेर सुधार, पुनर्निर्माण र पुनर्जागरणको बाटोमा अघि बढ्नुपर्ने उनको भनाइ थियो।

महाधिवेशनपछि जनताबीच पुग्दा कांग्रेसले विगतभन्दा बढी ऊर्जा र प्रतिबद्धताका साथ काम गर्न सक्ने अवस्था बनाउनुपर्ने बताउँदै भुसालले पार्टीले फेरि जनताको विश्वास जित्ने आधार तयार गर्नुपर्ने उल्लेख गरिन्।

महिलाको सहभागिताबारे बोल्दै उनले मुलुकको जनसंख्यामा महिलाको हिस्सा आधाभन्दा बढी रहेको स्मरण गराइन्। आन्दोलन, निर्वाचन र सामाजिक क्षेत्रमा महिलाले आफ्नो क्षमता प्रमाणित गरिसकेको भन्दै अब पार्टी तथा राज्यको नीति निर्माण तहमा महिलाको निर्णायक सहभागिता सुनिश्चित गर्नुपर्ने माग उनले राखिन्।

भुसालले कांग्रेसको १५औँ महाधिवेशनलाई नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक र सांगठनिक यात्राको दिशा तय गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएकी छन्।

खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशनको रौनक [तस्वीर]

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन औपचारिक रूपमा उद्घाटन गरेका छन्।

काठमाडौंको खुलामञ्चमा आयोजित समारोहमा थापाले कांग्रेसका संस्थापक तथा अग्रज नेताहरूको तस्बिरमा माल्यार्पण गर्दै महाधिवेशनको सुरुवात गरेका हुन्। उनले दीप प्रज्वलन गर्नुका साथै बिरुवामा जल सेचनसमेत गरे।

उद्घाटन समारोहमा कांग्रेसका अग्रज नेताहरूको तस्बिरमा विभिन्न राजनीतिक दलका नेताहरूले पनि माल्यार्पण गरेका थिए।

समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ।

गगनको २९ बुँदे राजनीतिक प्रतिवेदनमा के छ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन तयार पारेका छन्। आगामी चार वर्षमा पार्टीले लिनुपर्ने राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक बाटोबारे विस्तृत प्रस्तावसहित प्रतिवेदन तयार गरिएको हो।

प्रतिवेदनमा कांग्रेसले विगतका कमजोरीको समीक्षा गर्दै पार्टीलाई नयाँ ढंगले अघि बढाउनेदेखि निर्वाचनपूर्व गठबन्धन नगर्ने नीतिसम्म प्रस्ताव गरिएको छ। निजी क्षेत्रसँग सहकार्य, युवाको सहभागिता, सुशासन, आर्थिक उत्पादन, प्रविधि, संघीयता र राष्ट्रिय स्वाधीनतालाई पनि आगामी कार्यदिशाका महत्वपूर्ण विषय बनाइएको छ।

थापाले कांग्रेस पछिल्ला दुई दशकमा राजनीतिक उद्देश्यभन्दा पद र सत्तातर्फ बढी केन्द्रित भएको स्वीकार गरेका छन्। गठबन्धन, भागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक आधार कमजोर बनाएको प्रतिवेदनमा उल्लेख छ। भ्रष्टाचार र अनियमिततामा आफ्नै पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्ततामाथि समेत प्रश्न उठेको निष्कर्ष निकालिएको छ।

युवापुस्तासँग पार्टीको दूरी बढ्नु र नागरिकका बदलिँदा अपेक्षा बुझ्न नसक्नु कांग्रेसको अर्को कमजोरीका रूपमा औंल्याइएको छ। दोस्रो विशेष महाधिवेशनमार्फत जनतासँग क्षमायाचना गर्दै पार्टी सुधारको प्रतिबद्धता जनाइएको विषयलाई पनि प्रतिवेदनमा स्मरण गरिएको छ।

भदौ २३ र २४ को जनउभारलाई केवल षड्यन्त्रका रूपमा व्याख्या गरेर पन्छिन नहुने थापाको निष्कर्ष छ। सुशासन, अवसर र निष्पक्षताको माग नागरिकको जायज असन्तुष्टि भएको भन्दै आन्दोलनका क्रममा भएको राज्यको बल प्रयोग, हिंसा तथा जनधनको क्षतिबारे निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गरिएको छ। दोषीलाई कारबाही र पीडितलाई सत्य, न्याय तथा परिपूरण दिलाउनुपर्ने प्रस्ताव गरिएको छ।

फागुन २१ को निर्वाचनमा कांग्रेसले भोगेको पराजयलाई पनि लामो समयदेखि नागरिकसँग बढ्दै गएको दूरी र पार्टीको राजनीतिक कमजोरीसँग जोडेर समीक्षा गरिएको छ। प्राप्त जनादेश स्वीकार गर्दै संसद्मा जिम्मेवार प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता प्रतिवेदनमा व्यक्त गरिएको छ।

३८ सिटसहित संसद्मा रहेको कांग्रेसले सरकारका कामकारबाहीमाथि प्रभावकारी निगरानी गर्नुपर्ने प्रस्ताव गरिएको छ। सरकारलाई तथ्य र प्रमाणका आधारमा प्रश्न गर्ने, भ्रष्टाचार तथा अधिकार हननविरुद्ध आवाज उठाउने र आलोचनासँगै वैकल्पिक नीति प्रस्तुत गर्ने कार्यदिशा अघि सारिएको छ। संघ र प्रदेशमा मन्त्रालयगत कामको निगरानी गर्न ‘छायाँ सरकार’को अभ्यास गर्ने प्रस्तावसमेत छ।

आगामी निर्वाचनमा कुनै पनि दलसँग निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति थापाले अघि सारेका छन्। आफ्नै चुनाव चिह्न, आफ्नै उम्मेदवार र आफ्नै राजनीतिक एजेन्डासहित जनतामाझ जाने प्रस्ताव गरिएको छ। उम्मेदवार छनोटमा गुट र पहुँचभन्दा योग्यता, योगदान तथा कार्यसम्पादनलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ।

उम्मेदवार चयनमा प्राइमरी निर्वाचन, सार्वजनिक मतसर्वेक्षण र पार्टी सदस्यको प्रत्यक्ष मतलाई महत्व दिने प्रस्ताव छ। अधिवेशन वा उम्मेदवारीलाई प्रभावित पार्ने गरी अन्तिम समयमा सदस्यतासम्बन्धी नियम परिवर्तन नगर्ने प्रतिबद्धता पनि प्रतिवेदनमा समेटिएको छ।

कांग्रेसले राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई आफ्नो मूल वैचारिक आधारका रूपमा निरन्तरता दिँदै बदलिँदो समयअनुसार विचारको नवीकरण गर्नुपर्ने प्रस्ताव गरिएको छ। राष्ट्रियतालाई भूगोल र नारामा सीमित नराखी ऊर्जा, खाद्य, प्रविधि तथा वित्तीय क्षमतासँग जोड्नुपर्ने र लोकतन्त्रलाई निर्वाचनमा मतदान गर्ने प्रक्रियाभन्दा व्यापक नागरिक सहभागितासँग जोड्नुपर्ने भनिएको छ।

बीपी कोइरालाको समाजवादी दृष्टिकोणलाई आधुनिक सामाजिक बजार अर्थतन्त्रसँग जोड्ने तथा प्रदीप गिरिको अध्ययन, बहस, आत्मालोचना र बहिष्कृत समुदायका मुद्दालाई कांग्रेसको वैचारिक यात्रासँग जोड्ने प्रस्ताव पनि प्रतिवेदनमा छ।

‘समुन्नत नेपाल, सम्मानित नेपाली’लाई पार्टीको दीर्घकालीन अवधारणाका रूपमा अघि सार्दै आर्थिक वृद्धिदरलाई मात्र विकासको आधार नमान्ने प्रस्ताव गरिएको छ। शिक्षा, स्वास्थ्य, पोषण, सीप, क्षमता र नागरिकको वास्तविक स्वतन्त्रतालाई समुन्नतिको मापदण्ड बनाउने भनिएको छ।

विकासमा सरकारमात्र होइन, नागरिक, समुदाय, निजी क्षेत्र, सहकारी, विश्वविद्यालय र विज्ञको साझेदारी आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ। सार्वजनिक निर्णयमा परिणाम र जिम्मेवारी स्पष्ट पार्नुपर्नेमा पनि जोड दिइएको छ।

सरकारी काममा जवाफदेहिता बढाउन हरेक महत्वपूर्ण निर्णयबारे पाँच प्रश्नको उत्तर खोज्ने प्रणाली लागू गर्नुपर्ने प्रस्ताव छ। के निर्णय भयो, किन भयो, जिम्मेवारी कसको हो, परिणाम के आयो र अपेक्षित परिणाम नआए सुधार के गरियो भन्ने प्रश्नलाई सार्वजनिक जवाफदेहिताको आधार बनाउने भनिएको छ।

विकास आयोजना, बजेट खर्च र जिम्मेवार पदाधिकारीको विवरण नागरिकले प्रत्यक्ष हेर्न सक्ने डिजिटल ड्यासबोर्ड निर्माण गर्ने प्रस्ताव पनि गरिएको छ। यसबाट सरकारी आयोजनाको प्रगति र खर्चबारे नागरिक निगरानी बढाउने उद्देश्य राखिएको छ।

निजी क्षेत्रलाई कर संकलनको स्रोतमा मात्र सीमित नगरी उत्पादन, रोजगारी, सम्पत्ति निर्माण र नवप्रवर्तनको प्रमुख साझेदारका रूपमा विकास गर्नुपर्ने प्रस्ताव छ। लगानीको सुरक्षा, नीतिगत स्थिरता र व्यवसायमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ।

कृषि, उद्योग, पर्यटन, जलस्रोत, ऊर्जा र डिजिटल प्रविधिलाई आर्थिक विकासको आधार बनाउने तथा विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना गर्ने प्रस्ताव छ। आयात र विप्रेषणमा निर्भर अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने लक्ष्य प्रतिवेदनमा राखिएको छ।

असमानता बढेपछि मात्र कर र अनुदानमार्फत समाधान खोज्नेभन्दा शिक्षा, स्वास्थ्य, सीप, वित्त र रोजगारीमा सुरुदेखि नै समान अवसर उपलब्ध गराउनुपर्ने अवधारणा अघि सारिएको छ।

देशभित्र सम्मानजनक रोजगारी सिर्जना गर्ने र वैदेशिक रोजगारीलाई सुरक्षित तथा अधिकारमुखी बनाउने प्रस्ताव गरिएको छ। विदेशमा रहेका नेपालीका अधिकार र सामाजिक सुरक्षालाई नीतिमा समेट्दै विप्रेषणलाई उत्पादन र रोजगारी सिर्जनामा परिचालन गर्ने भनिएको छ।

बसाइँसराइका कारण पहाडमा घट्दो जनसंख्या, मधेस तथा राजमार्ग क्षेत्रमा बढ्दो जनघनत्व र शहरमा थपिँदो चापलाई फरक ढंगले सम्बोधन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। नागरिकको वास्तविक बसोबास र सेवाको मागका आधारमा विकास योजना बनाउनुपर्ने प्रस्ताव छ।

जलवायु परिवर्तनलाई वातावरणीय समस्यामात्र नभई आर्थिक तथा राष्ट्रिय सुरक्षाको विषयका रूपमा लिनुपर्ने उल्लेख छ। विपद् जोखिमलाई पूर्वाधार तथा बस्ती विकाससँग जोड्ने, प्राकृतिक स्रोतको दिगो उपयोग गर्ने र भावी पुस्ताको अधिकार सुरक्षित राख्ने नीति अघि सारिएको छ।

कृत्रिम बुद्धिमत्ता र डिजिटल प्रविधिका कारण रोजगारी, शिक्षा र प्रतिस्पर्धाको स्वरूप परिवर्तन भइरहेकाले नेपालले त्यसअनुसार शिक्षा तथा सीप प्रणाली तयार गर्नुपर्ने प्रस्ताव गरिएको छ। गलत सूचना र घृणात्मक सामग्री नियन्त्रणका लागि मिडिया साक्षरता र तथ्यमा आधारित संवादलाई प्रोत्साहन गर्ने भनिएको छ।

जातीय विभेद, बालविवाह, लैंगिक हिंसा, कुपोषण, शिक्षा र स्वास्थ्यजस्ता विषयलाई निरन्तर सामाजिक अभियानसँग जोड्ने प्रस्ताव पनि छ। सार्वजनिक शिक्षा र स्वास्थ्यलाई समान अवसरको आधार बनाउँदै महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा कमजोर समुदायको सामाजिक सुरक्षा बलियो बनाउनुपर्ने उल्लेख गरिएको छ।

संघीयताको संरचना बने पनि त्यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको प्रतिवेदनमा स्वीकार गरिएको छ। संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, प्रशासनिक क्षमता र वित्तीय संघीयता सुधार गर्नुपर्ने प्रस्ताव छ। संविधान संशोधनको बहसलाई तत्कालीन राजनीतिक समीकरणभन्दा राष्ट्रिय सहमतिका आधारमा अघि बढाउनुपर्नेमा जोड दिइएको छ।

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै द्वन्द्वपीडितलाई सत्य, न्याय र परिपूरण सुनिश्चित गर्नुपर्ने प्रस्ताव छ। संक्रमणकालीन न्यायलाई राजनीतिक भागबन्डा वा सत्ता समीकरणको विषय नबनाउनुपर्ने उल्लेख गरिएको छ।

राष्ट्रिय स्वाधीनतालाई औपचारिक सार्वभौमिकतामा मात्र सीमित नराखी ऊर्जा, खाद्य, वित्त, प्रविधि र ज्ञानमा आत्मनिर्भर क्षमता विकास गर्नुपर्ने प्रस्ताव गरिएको छ। बदलिँदो भूराजनीतिक परिस्थितिमा नेपालको स्वतन्त्र निर्णय क्षमता कायम राख्दै राष्ट्रिय हितमा आधारित विदेश नीति अघि बढाउने भनिएको छ।

कांग्रेसलाई निर्वाचनका बेला मात्र सक्रिय हुने संगठन नभई नागरिकसँग निरन्तर जोडिने राजनीतिक संस्था बनाउने प्रस्ताव गरिएको छ। सदस्यता, सहभागिता र आन्तरिक लोकतन्त्रलाई पारदर्शी बनाउँदै पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा जोड्ने लक्ष्य राखिएको छ।

नेतृत्व विकासका लागि तालिम संस्था, नीति अनुसन्धान केन्द्र, निर्वाचन तयारीका लागि छुट्टै ब्युरो र जनप्रतिनिधिलाई नीति तथा सुशासनमा सहयोग गर्ने संस्थागत संरचना बनाउने प्रस्ताव पनि छ।

पार्टी पदाधिकारी तथा जनप्रतिनिधिका लागि उच्च नैतिक मापदण्ड लागू गर्ने र वित्तीय पारदर्शिता बढाउने प्रस्ताव गरिएको छ। भ्रष्टाचारको आरोप लागेका आफ्नै पक्षका व्यक्तिलाई समेत संरक्षण नगर्ने, आवश्यक छानबिन र निलम्बनको प्रक्रिया अघि बढाउने तथा पार्टीभित्र आचरणसम्बन्धी छानबिनका लागि स्वतन्त्र संयन्त्र बनाउने भनिएको छ।

न्यायपालिका, संवैधानिक निकाय, विश्वविद्यालय र प्रशासनमा दलीय भागबन्डा नगर्ने प्रतिबद्धता जनाउनुपर्ने प्रस्ताव पनि प्रतिवेदनमा छ। सार्वजनिक सम्पत्ति र अधिकारलाई दल वा गुटको हितमा प्रयोग नगर्ने तथा पैसा, पहुँच र नेतासँगको निकटताका आधारमा अवसर नदिने नीति अघि सारिएको छ।

कुनै व्यक्ति दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाका लागि पहल गर्ने प्रस्तावसमेत प्रतिवेदनमा छ। यसले नेतृत्वमा लामो समयसम्म एउटै व्यक्तिको प्रभाव कायम रहने अवस्था अन्त्य गर्ने लक्ष्य राखेको छ।

निर्वाचन प्रणालीमा सुधार गर्दै उम्मेदवार छनोटमा प्राइमरी प्रणाली लागू गर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउन पहल गर्ने तथा निर्वाचनलाई थप सहभागी र प्रतिनिधिमूलक बनाउने विकल्पमा बहस अघि बढाउने प्रस्ताव गरिएको छ।

शहीद परिवार, घाइते तथा विस्थापित कार्यकर्ताको शिक्षा र स्वास्थ्यमा सहयोग पुर्‍याउन १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने प्रस्ताव छ। राजनीतिक आन्दोलनमा योगदान गरेका परिवारको दीर्घकालीन संरक्षणका लागि पनि छुट्टै व्यवस्था गर्ने भनिएको छ।

जेन्–जी पुस्ताको असन्तुष्टि र मागबारे अध्ययन गर्न युवा विज्ञ सम्मिलित विशेष कार्यदल बनाउने प्रस्ताव गरिएको छ। युवालाई पार्टीको नीति निर्माण, निर्णय प्रक्रिया र नेतृत्व विकासमा थप सहभागी गराउने तथा डिजिटल माध्यमको प्रयोग बढाउने लक्ष्य राखिएको छ।

‘समुन्नति’ अवधारणालाई व्यवहारमा उतार्न पहिलो १०० दिनमै राजनीतिक तथा संगठनात्मक समीक्षा सुरु गर्ने प्रस्ताव छ। सातै प्रदेशमा समीक्षा, नीति दस्तावेज निर्माण र नागरिक संवाद अघि बढाउने योजना प्रतिवेदनमा समेटिएको छ।

पहिलो वर्ष शिक्षा, पोषण, रोजगारी, सुशासन र हरित विकासमा केन्द्रित प्रदेशस्तरीय कार्यदल गठन गर्ने प्रस्ताव छ। उम्मेदवार छनोटका मापदण्ड निर्वाचनअघि नै सार्वजनिक गर्ने, सामुदायिक योगदान, नैतिक आचरण र कार्यसम्पादनलाई उम्मेदवारीको आधार बनाउने भनिएको छ।

पार्टीका नीति र कार्यक्रमको हरेक तीन महिनामा समीक्षा गर्ने तथा हरेक वर्ष सार्वजनिक प्रगति प्रतिवेदन निकाल्ने प्रस्ताव पनि छ। चार वर्षपछि नेतृत्वको मूल्याङ्कनसमेत नीति तथा प्रतिबद्धताको कार्यान्वयनका आधारमा गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

समग्रमा थापाको राजनीतिक प्रतिवेदनले कांग्रेसको सुधारलाई नेतृत्व परिवर्तनमा मात्र सीमित गरेको छैन। पार्टीको राजनीतिक संस्कारदेखि आर्थिक नीति, सुशासन, निजी क्षेत्र, रोजगारी, सामाजिक सुरक्षा, युवा सहभागिता, प्रविधि, जलवायु र राष्ट्रिय स्वाधीनतासम्मका विषयलाई एउटै कार्यदिशामा जोडिएको छ।

‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’लाई केन्द्रमा राखेर तयार पारिएको प्रतिवेदनले विगतका कमजोरी स्वीकार गर्दै नागरिकसँगको दूरी घटाउने, लोकतान्त्रिक संस्था बलियो बनाउने र पार्टीका प्रतिबद्धतालाई परिणाममा बदल्ने लक्ष्य अघि सारेको छ।

कांग्रेस महाधिवेशन : को-को पुगे खुलामञ्च?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा सुरु भएको छ। उद्घाटन समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू खुलामञ्च पुगेका छन्।

उद्घाटन सत्रमा नेकपा एमालेका महासचिव शङ्कर पोखरेल सहभागी भएका छन्। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि कार्यक्रममा पुगेका छन्।

उद्घाटन समारोहमा पूर्वमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी र पूर्वअर्थमन्त्री रामेश्वर खनालको पनि उपस्थिति रहेको छ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठसहित विभिन्न क्षेत्रका प्रतिनिधि तथा अतिथिहरू पनि खुलामञ्च पुगेका छन्।

जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत निर्वाचित

काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित भएका छन्। वीरगञ्जमा सम्पन्न पार्टीको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा राउतले ९५८ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परेको थियो। तर पार्टी विधानअनुसार उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था रहेकाले उनको पक्षमा पनि मतदान भएको थियो।

महाधिवेशनमा २६ पदाधिकारीसहित ९९ पदका लागि निर्वाचन भएको थियो।

उपाध्यक्षमा अनिताकुमारी मण्डल, अनितादेवी साह, नरेन्द्रप्रसाद चौधरी, बसन्तकुमार कुशवाहा, डा. जयकान्त राउत, राजयकुमार यादव र माधवप्रसाद सिंह निर्वाचित भएका छन्। उपाध्यक्षका लागि ११ जना प्रतिस्पर्धामा थिए। परमेश्वर मुर्मु, हरपाल सिंह सोडी, मनोहरा देवी बैठा र रोशन खातुन भने पराजित भए।

महासचिव पदमा सञ्जयकुमार यादव ६१८ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी ममता झाले २२० र चन्दनकुमार सिंहले १६५ मत पाए। दुवैले २० प्रतिशतको थ्रेसहोल्ड कटाउन नसकेको जनमत पार्टीले जनाएको छ।

उपमहासचिवमा निर्मलकुमार मण्डल ५०१ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी ललितचन्द्र मल्लिकले ४१४ मत पाए।

त्यस्तै, सचिवमा सुरेन्द्र शर्मा, पारसप्रसाद साह, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन्।

सात सचिव पदका लागि नौ जना प्रतिस्पर्धामा थिए। वीरेन्द्र महतो (जीवन त्यागी) र रामबाबु साह भने पराजित भएका छन्।

कांग्रेस महाधिवेशनमा सहभागी हुन पुगे एमाले महासचिव पोखरेल

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल काठमाडौंको खुलामञ्च पुगेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुन नसकेपछि उनको प्रतिनिधिका रूपमा पोखरेल कांग्रेस महाधिवेशनमा पुगेका हुन्।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह अहिले खुलामञ्चमा चलिरहेको छ। समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू खुलामञ्च पुगेका छन्।

पोखरेलले एमालेका तर्फबाट कांग्रेस महाधिवेशनलाई शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ।

एमाले संसदीय दलको बैठक च्यासलमा जारी

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, हालै सम्पन्न संसद् अधिवेशन र आगामी दिनमा पार्टीले लिनुपर्ने राजनीतिक रणनीतिलगायतका विषयमा छलफल भइरहेको छ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन्। उनले पार्टीका सांसदहरूलाई समसामयिक राजनीतिक विषयमा आवश्यक निर्देशन दिने बताइएको छ।

संसद् अधिवेशन अन्त्य भएसँगै विकसित राजनीतिक परिस्थितिबारे सांसदहरूबीच छलफल गर्न बैठक बोलाइएको एमालेले जनाएको छ।

देउवालाई ल्याउन कांग्रेस महाधिवेशनको उद्घाटन नै ढिलो!

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन कार्यक्रम तोकिएको समयभन्दा पछि धकेलिँदै जानुको एउटा कारण असन्तुष्ट नेताहरूलाई समेत समेट्ने प्रयास रहेको कांग्रेस नेता मीनबहादुर विश्वकर्माले बताएका छन्।

महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विश्वकर्माले कांग्रेसभन्दा बाहिर रहेका तथा मन नमिलेका नेताहरूलाई पनि मूलधारमा ल्याउन अन्तिम समयसम्म प्रयास भइरहेको बताए। त्यसकै लागि महाधिवेशनको कार्यतालिकासमेत आवश्यकताअनुसार लचिलो बनाइएको उनको भनाइ छ।

उनका अनुसार पार्टीभित्रको असहमति मिलाउने र सबै पक्षलाई महाधिवेशनमा सहभागी गराउने प्रयास अझै जारी छ।

विश्वकर्माले पूर्वसभापति शेरबहादुर देउवा महाधिवेशनस्थलमा आइपुगेर सम्बोधन गर्ने आशासमेत व्यक्त गरे। देउवाको सहभागिता निश्चित नभए पनि कांग्रेसको ऐतिहासिक परम्परा र नेतृत्व हस्तान्तरणलाई सम्मानजनक ढंगले अघि बढाउन उनी महाधिवेशनमा आउनुपर्ने उनको भनाइ थियो।

‘उहाँ यहाँ आएर उपस्थिति जनाएर, सम्बोधन गरेर आफ्नो सुखद बहिर्गमन र नेपाली कांग्रेसको ऐतिहासिक धरोहरको निरन्तरता कायम गर्नुहुन्छ भन्ने हामी विश्वास गर्दछौँ। उहाँ आउने त्यो निश्चित होइन, तर आशा गर्छौँ,’ विश्वकर्माले भने।

कांग्रेसभित्र पछिल्लो समय पूर्वसभापति देउवा पक्षका ठूलो संख्याका नेता गगन थापा नेतृत्वको कार्यसमितिमा समाहित भएका छन्। पार्टीले देउवा नेतृत्वको पुरानो कार्यसमितिका नेताहरूलाई समेत समेट्ने निर्णय गरेपछि उनीहरू महाधिवेशन प्रक्रियामा फर्किएका हुन्।

यद्यपि, देउवा आफैं भने महाधिवेशन प्रक्रियामा सहभागी हुने विषय अझै स्पष्ट भइसकेको छैन। कांग्रेसभित्र उनलाई महाधिवेशन उद्घाटनमा प्रमुख अतिथिका रूपमा सहभागी गराएर पार्टी एकताको सन्देश दिनुपर्ने आवाजसमेत उठ्दै आएको छ।

विश्वकर्माले अब महाधिवेशनबाट सभापतिमा गगन थापा सर्वसम्मत हुनसक्ने सम्भावनासमेत व्यक्त गरेका छन्। पार्टीभित्रका असन्तुष्ट पक्षहरूलाई समेट्दै अघि बढ्न सके नेतृत्व चयनमा समेत सहमति बन्न सक्ने उनको संकेत छ।

जसपाका चार नेताले दिए सामूहिक राजीनामा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना केन्द्रीय नेताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्।

पूर्वसङ्घीय सांसद तथा सहिद परिवारकी सदस्य इन्दुकुमारी शर्मा, केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता घनश्याम शर्मा र युवा नेता पुष्पराज चमनले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन्।

राजीनामा घोषणा गर्ने चारै जनाले अब ‘हुँकार मधेस’ अभियानमा सक्रिय हुने जनाएका छन्।

संयुक्त विज्ञप्तिमार्फत उनीहरूले पार्टीबाट अलग भएको जानकारी गराउँदै आगामी राजनीतिक गतिविधि ‘हुँकार मधेस’ अभियानमार्फत अघि बढाउने बताएका छन्।