`

‘किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसीहाँसी नमस्कार गरेँ’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेता-कार्यकर्तालाई विगतको हिसाबकिताबमा अल्झिनुभन्दा अबको ३५ वर्षका लागि योजना बनाउन निर्देशन दिएका छन् ।

आइतबार पार्टीको ‘नीति, संगठन र नेतृत्व’ विषयक कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले विगतका दल र नेतृत्वलाई गाली गरेर समय खेर नफाल्न आग्रह गरे ।

‘अब बितेका ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथीहरू, अबको ३५ वर्षको योजना ल्याउनुस्,’ उनले भने ।

लामिछानेले विगतमा जे–जति काम भए, त्यसको समीक्षा गर्दै बस्नुभन्दा अब आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए । केही गर्न नसकिए पनि कम्तीमा नराम्रो काम नगर्न सकिने उनको भनाइ थियो ।

‘बितेको ३५ वर्षका लागि उहाँहरूलाई कचकच गर्ने ठाउँमा हामी छैनौँ । जति सके गरे, धन्यवाद,’ उनले भने ।

अब देशलाई आगामी ३५ वर्षमा कहाँ पुर्‍याउने भन्ने जिम्मेवारी रास्वपाको काँधमा आएको लामिछानेले बताए । जनताले रास्वपालाई ठूलो विश्वास गरेको भन्दै त्यो विश्वास कमजोर हुने कुनै गतिविधि नगर्न उनले नेता–कार्यकर्तालाई सचेत गराए ।

लामिछानेले पार्टीका नेता–कार्यकर्तालाई लोकतन्त्रविरोधी गतिविधि र अभिव्यक्तिबाट टाढा रहनसमेत निर्देशन दिए ।

‘हाम्रा अभिव्यक्ति, क्रियाकलापले लोकतन्त्रलाई कमजोर बनाउने काम नगरोस्,’ उनले भने, ‘कहिलेकाहीँ आफ्नै परिवारका सदस्यलाई पनि सम्झाउनुपर्ने रहेछ । यो मेरो असन्तुष्टि होइन, चिन्ता हो ।’

उनले अहिले सरकार मात्र नभई प्रतिपक्षसमेत बलियो रहेको भन्दै पार्टीका गतिविधि जिम्मेवार र संयमित हुनुपर्ने बताए ।

लामिछानेले आफूले विगतमा प्रधानमन्त्री बन्ने अवसर पाए पनि त्यसलाई अस्वीकार गरेको प्रसंग पनि सुनाए ।

२१ सिटको दलको नेतृत्व गरिरहेका बेला आफ्नो हस्ताक्षर मात्र बाँकी राखेर प्रधानमन्त्री बन्ने प्रस्ताव आएको उनले दाबी गरे । तर, तत्काल प्रधानमन्त्री बन्नुभन्दा आन्दोलन, जनताको अपेक्षा र नयाँ पुस्ताको आशालाई प्राथमिकता दिएको उनको भनाइ छ ।

‘म २१ सिटको दलको नेताको रूपमा प्रधानमन्त्री बन्नका निम्ति मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव पनि आएको थियो,’ उनले भने, ‘भइदिउँ न त भन्दा त्यति धेरै गाह्रो पनि थिएन ।’

त्यतिबेला प्रधानमन्त्री बनेको भए केही महिनामात्रै पदमा रहन सक्ने र सिंहदरबारमा आफ्नो एउटा तस्वीर थपिन सक्ने उनले बताए ।

‘म भइ नै हालेको भए दुई–चार महिनाको प्रधानमन्त्री हुन्थेँ होला । धेरै नै भए सिंहदरबारमा एउटा तस्वीरसम्म टाँसिन्थ्यो होला,’ उनले भने ।

तर, देशले नयाँ राजनीतिक परिवर्तन र युवाको नेतृत्व खोजिरहेका बेला आफूले व्यक्तिगत अवसरभन्दा त्यसलाई प्राथमिकता दिएको लामिछानेले बताए ।

‘म यहाँ गर्वका साथ भन्न सक्छु, हाँसीहाँसी किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसीहाँसी नमस्कार गरेको हो,’ उनले भने, ‘मैले यसलाई असाध्यै गर्वको विषय बनाएको होइन, इतिहासको पानामा दर्ज मात्रै गराएको हो ।’

उनले अब विगतमा अरूलाई दोष लगाउनेभन्दा आफूले गर्नुपर्ने काममा ध्यान दिनुपर्ने बताए ।

‘हिजो दोष लगाउने कयौँ नेता थिए । आज कसलाई देखाउने ?’ लामिछानेले प्रश्न गरे ।

‘पाँच महिनामै बालेन सरकार ‘निर्वाचित अधिनायकवाद’तर्फ’

काठमाडौं। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)नेतृत्वको सरकार लोकतान्त्रिक संस्थाहरूलाई कमजोर पार्दै ‘निर्वाचित अधिनायकवाद’तर्फ अघि बढेको आरोप लगाएका छन् ।

आइतबार राजधानीमा आयोजित कार्यक्रममा ज्ञवालीले सरकारको पछिल्लो पाँच महिनाको गतिविधिले यस्तो संकेत देखाएको बताएका हुन् ।

उनका अनुसार सरकार संसद्, राष्ट्रपति संस्था, न्यायालय, राजनीतिक दल र सञ्चारमाध्यमसँग संवाद र सहकार्य गर्नेभन्दा सबैलाई किनारा लगाएर आफूखुसी अघि बढिरहेको छ ।

उनले सरकारको कार्यशैलीलाई ‘बेलगाम घोडा’सँग तुलना गर्दै निर्वाचित सरकार भए पनि त्यसले संस्थागत नियन्त्रण र सन्तुलनलाई बेवास्ता गर्न थालेको टिप्पणी गरे ।

ज्ञवालीले सरकारलाई प्रधानमन्त्री बनाउने आफ्नै राजनीतिक शक्तिसँग समेत पर्याप्त समन्वय नभएको दाबी गरे । संसद्को भूमिकालाई समेत कमजोर बनाउँदै लगिएको उनको आरोप छ ।

उनले ठूलो जनमत पाएको दम्भमा सरकारले आगामी दिनमा संविधानमै प्रतिगामी संशोधन गर्न सक्ने जोखिमसमेत औँल्याए । प्रतिनिधिसभामा संविधान निर्माणका प्रमुख शक्तिहरू कमजोर अवस्थामा रहेकाले सरकारलाई नियन्त्रण र सन्तुलनमा राख्ने राजनीतिक शक्ति पर्याप्त नभएको उनको भनाइ थियो ।

ज्ञवालीले सामाजिक सञ्जालको प्रयोगमार्फत असहमति राख्नेहरूमाथि दबाब सिर्जना भइरहेको दाबी पनि गरे । सरकारको आलोचना गर्नेहरू साइबर बुलिङ, चरित्रहत्या र विभिन्न प्रकारका दबाबको सामना गर्न बाध्य भएको उनको आरोप छ ।

यस्तो अवस्थाले समाजमा डर र मौनता बढाउँदै आलोचनात्मक आवाजलाई कमजोर बनाउने खतरा रहेको ज्ञवालीले बताए । उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा सरकारको आलोचना र असहमतिको अधिकार सुरक्षित हुनुपर्छ ।

ज्ञवालीले अहिलेको अवस्थामा वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूबीच सहकार्य आवश्यक रहेकोमा समेत जोड दिए ।

उनले समाजवादी आन्दोलनको मात्र नभई संविधान, लोकतन्त्र, राष्ट्रियता, खुला राजनीतिक वातावरण, जनजीविका र सामाजिक सद्भावको संरक्षणलाई समेत सहकार्यको आधार बनाउनुपर्ने बताए ।

‘मिस मेनुका’ अब १३ भदौसम्म

काठमाडौं । शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘मिस मेनुका : एक संवेदनशील यौनकर्मी’को प्रदर्शन अवधि एक साता थपिएको छ । थपिएको अवधिसँगै नाटक अब १३ भदौसम्म मञ्चन हुने भएको छ ।

फ्रान्सेली नाटक ‘ला पे… रेस्पेक्टुअज’को नेपाली रूपान्तरणका रूपमा तयार गरिएको नाटक १३ साउनदेखि नियमित मञ्चन भइरहेको छ । यसको मुख्य सर्जक झाँ पल सार्त्र हुन् । नेपाली रूपान्तरण कल्पना घिमिरे नुरिस्साँले गरेकी छन् भने निर्देशन पवित्रा खड्काले गरेकी छन् ।

नाटकको कथामा मेनुका नामकी यौनकर्मीलाई केन्द्रमा राखिएको छ । बसमा यात्रा गर्ने क्रममा उनी एउटा आपराधिक घटनाकी प्रत्यक्षदर्शी बन्छिन् । घटनाका वास्तविक दोषीलाई जोगाउन प्रभावशाली व्यक्तिहरूले भने उनलाई निर्दोष व्यक्तिमाथि बलात्कारको आरोप लगाउन दबाब दिन्छन् ।

प्रहरीसमेत प्रभावशाली व्यक्तिहरूको पक्षमा उभिएपछि मेनुकालाई झूटो बयान दिन दबाब दिइन्छ । यसैबीच आरोपित निर्दोष व्यक्ति आफ्नो ज्यान जोगाउन मेनुकाको सहयोग खोज्दै उनीसमक्ष पुग्छ । त्यसपछि विकसित हुने घटनाक्रमलाई नाटकले प्रस्तुत गरेको छ ।

नाटकमा सरिता गिरी, युवराज घिमिरे, रूपेश मण्डल, प्रभाकर देव शर्मा, धनराज सुनार र गोविन्दलगायत कलाकारले अभिनय गरेका छन् ।

संस्थापन इतर समूहको सम्पर्क कार्यालयमा पुगे देउवा [तस्वीरहरू]

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन इतर समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पुगेका छन् ।

देउवा त्यहाँ पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट र छलफलमा जुटेका छन् ।

तस्वीरहरू:

सुगौली सन्धीपछि गम्भीर संकटमा छ : प्रचण्ड [भिडियो]

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धिपछि कै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटमा रहेको बताएका छन्। उनले यस्तो संकटबाट देशलाई निकास दिन कम्युनिस्ट शक्तिहरूबीच एकता, सहकार्य र पुनर्गठन आवश्यक रहेको बताएका हुन्।

आइतबार ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पछिल्लो परिस्थितिले राष्ट्रिय स्वाधीनता, जनताको अधिकार र विकास तथा समृद्धिको आकांक्षामाथि गम्भीर चुनौती खडा गरेको बताए। उनले वर्तमान संकटको सामना गर्न कम्युनिस्ट शक्तिहरूबीचको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।

नेपालको राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्गका मुद्दा तथा वैदेशिक हस्तक्षेपविरुद्धको संघर्षलाई अपेक्षित प्राथमिकता दिन नसक्दा अहिलेको असाधारण परिस्थिति सिर्जना भएको प्रचण्डको स्वीकारोक्ति थियो।

‘अहिले देश साँच्चै संकटमा छ। राष्ट्रिय स्वाधीनताका हिसाबले सुगौली सन्धिपछि सायद यति भयानक संकट कहिल्यै देखिएको थिएन,’ उनले भने, ‘यो संकटबाट पार पाउन र जनताको विकास तथा समृद्धिको आकांक्षा पूरा गर्न कम्युनिस्ट आन्दोलनको एकता नै मुख्य साँचो हो।’

प्रचण्डले विगतका कमजोरीका लागि एक–अर्कालाई दोषारोपण गर्ने प्रवृत्तिको अन्त्य गर्दै कम्युनिस्ट शक्तिहरूले सामूहिक रूपमा आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए। विगतका अनुभव र कमजोरीबाट पाठ सिक्दै नयाँ ढंगले अघि बढ्नुपर्ने उनको भनाइ थियो।

उनले राष्ट्रिय स्वाधीनता र देशभक्तिपूर्ण आन्दोलनको कम्युनिस्ट आन्दोलनसँग गहिरो सम्बन्ध रहेको उल्लेख गरे। राष्ट्रिय हितका सवालमा कम्युनिस्ट शक्तिहरू एक ठाउँमा उभिनुपर्ने भन्दै उनले कार्यक्रममा सहभागी विभिन्न दल तथा समूहका प्रतिनिधिहरूलाई साझा निकासका लागि गम्भीर चिन्तन र मनन गर्न आह्वान गरे।

प्रचण्डले वर्तमान चुनौतीलाई केवल कुनै एक राजनीतिक दलको समस्या नभई समग्र देश र कम्युनिस्ट आन्दोलनसँग जोडिएको विषयका रूपमा लिनुपर्ने बताए। राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र समृद्धिका साझा मुद्दामा सहकार्य गर्दै कम्युनिस्ट आन्दोलनलाई नयाँ आधारमा पुनर्गठन गर्नुपर्नेमा उनले जोड दिए।

शिक्षकका मागमा विद्यार्थीका मुद्दा ओझेलमा

काठमाडौं। सामुदायिक विद्यालयमा अध्ययनरत ठूलो संख्याका विद्यार्थीका वास्तविक समस्या अझै सार्वजनिक बहसको प्राथमिकतामा पर्न सकेका छैनन् ।

शिक्षकका तलब, सुविधा, बढुवा, सेवासुरक्षा र पेसागत अधिकारका विषयमा बहस तीव्र भइरहँदा विद्यार्थीले कक्षाकोठामा भोगिरहेका कठिनाइ भने तुलनात्मक रूपमा छायामा परेका छन् ।

नेपाल शिक्षक महासंघले शिक्षा तथा खेलकुद मन्त्रालयमा ५४ बुँदे माग राख्दै ध्यानाकर्षणपत्र बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत जानकारी गराइएको उक्त मागपत्रमा शिक्षाका लागि कुल बजेटको २० प्रतिशत छुट्याउनुपर्ने विषय पनि समेटिएको छ । तर मागको ठूलो हिस्सा शिक्षकका अधिकार र सेवासुविधामै केन्द्रित छ ।

शिक्षकका जायज माग उठ्नु आवश्यक भए पनि विद्यालयको मुख्य उद्देश्य विद्यार्थीको सिकाइ भएकाले उनीहरूका विषय पनि समान रूपमा उठ्नुपर्ने देखिन्छ । विद्यार्थीको सिकाइ उपलब्धि, कमजोर विद्यार्थीलाई थप सहयोग, कक्षाकोठाको वातावरण, विद्यालयको भौतिक अवस्था, गुणस्तरीय पठनपाठन र सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वासजस्ता विषयमा पर्याप्त बहस हुन सकेको छैन ।

विद्यार्थीको दैनिक अवस्था सबैभन्दा नजिकबाट बुझ्ने व्यक्ति शिक्षक नै हुन् । त्यसैले शिक्षकका संगठन र आन्दोलनबाट विद्यार्थीका समस्या पनि प्राथमिकताका साथ उठ्ने अपेक्षा गरिन्छ । तर शिक्षकका अधिकारको बहस गर्दा विद्यार्थीको शैक्षिक अधिकार र सिकाइको गुणस्तरलाई समेत केन्द्रमा राख्नुपर्ने आवश्यकता देखिएको छ ।

सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण निरन्तर कमजोर हुनु पनि यसैसँग जोडिएको विषय हो । आर्थिक अवस्था कमजोर भएका परिवारले समेत ऋण गरेर निजी विद्यालय रोज्नुपर्ने परिस्थिति सिर्जना हुनु सार्वजनिक शिक्षा प्रणालीप्रतिको विश्वासमा आएको संकटको संकेत हो ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पनि विद्यार्थीका कुरा पर्याप्त रूपमा नआएको बताएका छन् । धनगढीमा विद्यालय शिक्षा विधेयकमाथि सुझाव संकलनका क्रममा उनले विधेयक निर्माणका विभिन्न चरणमा शिक्षक, अभिभावक र अन्य सरोकारवालासँग छलफल भए पनि विद्यार्थीलाई पर्याप्त रूपमा सहभागी गराउन नसकिएको बताए ।

उनका अनुसार अब विद्यार्थीको आवाजलाई समेत समेटेर शिक्षा विधेयक अघि बढाउने प्रयास भइरहेको छ ।

मन्त्री पोखरेलले शिक्षकहरूले आफ्नो पेसागत अधिकार र सेवासुविधाका विषयमा पर्याप्त कुरा उठाएको तर विद्यार्थीका समस्याबारे अपेक्षाअनुसार छलफल नभएको बताए ।

उनले धेरै सामुदायिक विद्यालयमा अझै आधारभूत पूर्वाधारकै समस्या रहेको उल्लेख गरे । कतिपय विद्यालयमा पर्याप्त डेस्क–बेन्च छैनन्, शौचालय व्यवस्थित छैनन् भने दिवा खाजाको गुणस्तरमा समेत प्रश्न उठ्ने गरेको छ ।

त्यसैगरी प्रविधिको तीव्र विकासले विद्यार्थीको सिकाइको दायरा विद्यालयको पाठ्यपुस्तकभन्दा धेरै फराकिलो बनाइसकेको छ । इन्टरनेट र डिजिटल माध्यमबाट विद्यार्थीले विश्वका प्रतिष्ठित शैक्षिक संस्थाका सामग्री हेर्न सक्ने अवस्थामा परम्परागत पाठ्यक्रम र शिक्षण विधिलाई समयअनुकूल बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

एआईको प्रयोग बढिरहेको अवस्थामा त्यसलाई समेत शिक्षण सिकाइमा उपयोग गर्न सकिने मन्त्री पोखरेलको धारणा छ । डिजिटल सामग्री तथा एआईको माध्यमबाट विद्यार्थीलाई मातृभाषामै सिकाइ सामग्री उपलब्ध गराउन सकिने सम्भावना पनि उनले औँल्याएका छन् ।

सरकारले शिक्षक र विद्यालय कर्मचारीका सबै माग एकैपटक सम्बोधन गर्न आर्थिक कठिनाइ रहेको बताउँदै चरणबद्ध रूपमा सुधार गर्ने योजना अघि सारेको छ । आगामी पाँच वर्षभित्र विभिन्न माग सम्बोधन गर्दै जाने प्रतिबद्धता मन्त्री पोखरेलले जनाएका छन् ।

विद्यालय कर्मचारी, अनुदान शिक्षक र सहजकर्ताको पारिश्रमिक बढाउँदा सरकारलाई अतिरिक्त आर्थिक भार परेको पनि उनले उल्लेख गरे ।

विद्यालय शिक्षा ऐन बनेपछि विभिन्न प्रकारका शिक्षकलाई एउटै सेवा प्रणालीमा ल्याउने, ग्रेड मिलान तथा पदोन्नतिसहितका विषय व्यवस्थित गर्ने सरकारको तयारी रहेको उनको भनाइ छ ।

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक [तस्वीरहरू]

काठमाडौं। नेपाल भलिबल लिग (एनभिएल) को पहिलो संस्करणको ट्रफी सार्वजनिक गरिएको छ ।

आइतबार ललितपुरको पाटन दरबार स्क्वायरमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ट्रफी सार्वजनिक गरेका हुन् ।

ट्रफी सार्वजनिकपछि काठमाडौं र भक्तपुरमा समेत प्रदर्शन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

नेपाल भलिबल लिगको पहिलो संस्करणमा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताले नेपाली भलिबललाई व्यावसायिक र प्रतिस्पर्धात्मक रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

रोबोटले तोड्यो बोल्टको १०० मिटर दौडको रेकर्ड

काठमाडौं। चीनको बेइजिङस्थित ‘आइस रिबन’ स्टेडियममा जारी दोस्रो विश्व ह्युमनोइड रोबोट खेलमा चिनियाँ ह्युमनोइड रोबोटले १०० मिटर दौडमा मानव विश्व रेकर्ड तोडेको छ ।

शनिबार साँझ भएको प्रारम्भिक दौडमा तियानझुओ टोलीले विकास गरेको ह्युमनोइड रोबोटले ९.३९ सेकेन्डमा १०० मिटर दूरी पार गरेको हो । यसअघि जमैकाका धावक उसेन बोल्टले सन् २००९ मा ९.५८ सेकेन्डमा १०० मिटर पूरा गर्दै विश्व कीर्तिमान कायम गरेका थिए ।

बन्दुकको आवाजसँगै सुरु भएको दौडमा तीन ह्युमनोइड रोबोट सहभागी थिए । सुरुदेखि नै तीव्र प्रतिस्पर्धा देखिएको दौडमा तियानझुओको रोबोटले एक शरीरको लम्बाइ बराबरको अन्तरले पहिलो स्थान हासिल गरेको थियो ।

गत वर्ष यही विधामा रोबोटले बनाएको उत्कृष्ट समय २१.५० सेकेन्ड थियो । यसपटक भने उक्त समयभन्दा निकै तीव्र गतिमा दौड पूरा भएको हो ।

रोबोटहरूले दौडमा मात्र नभई अन्य खेलमा समेत मानव कीर्तिमानलाई चुनौती दिएका छन् । हाई जम्पमा एक ह्युमनोइड रोबोटले २.८८ मिटर उचाइ पार गरेको छ । यसले क्युबाका जेभियर सोटोमायरले सन् १९९३ मा बनाएको २.४५ मिटरको मानव विश्व कीर्तिमानलाई समेत उछिनेको छ ।

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी अनरको लाइटनिङ रोबोटले परीक्षणका क्रममा ९.३२ सेकेन्डमा १०० मिटर दौड पूरा गरेको थियो । त्यस्तै, यही वर्ष आयोजित ह्युमनोइड हाफ म्याराथन ५० मिनेट २६ सेकेन्डमा पूरा गरिएको थियो ।

सन् २०२२ को शीतकालीन ओलम्पिकका लागि निर्माण गरिएको राष्ट्रिय स्पिड स्केटिङ ओभलमा भइरहेको प्रतियोगितामा जर्मनी, जापान र अमेरिकासहित १६ देशका सयौँ टोली सहभागी छन् ।

प्रतियोगितामा भारोत्तोलन, टग अफ वार, फुटबल, नृत्य तथा औद्योगिक कार्यसँग सम्बन्धित गरी ५१ भन्दा बढी विधा समावेश छन् ।

मानव आकृतिका रोबोटहरू अहिले मुख्यतः प्रदर्शन र अनुसन्धानमा प्रयोग भइरहे पनि पछिल्ला उपलब्धिले रोबोटिक्स प्रविधिमा तीव्र विकास भइरहेको देखाएको छ ।

चीनले ह्युमनोइड रोबोटलाई रणनीतिक रूपमा महत्वपूर्ण उदीयमान उद्योगका रूपमा अघि बढाइरहेको छ । चिनियाँ रोबोट निर्माता कम्पनीहरू प्रविधि विकास र बजार विस्तारमा आक्रामक रूपमा अघि बढिरहेका छन् ।

युनिट्रीजस्ता चिनियाँ रोबोट निर्माता कम्पनीको बजार मूल्य तथा सेयरमा पछिल्लो समय देखिएको वृद्धिले पनि ह्युमनोइड रोबोट क्षेत्रमा लगानीकर्ताको आकर्षण बढिरहेको संकेत गरेको छ ।

स्टारलिंकलाई नेपाल छिर्न २० प्रतिशतको छेकबार

काठमाडौं। विदेशी लगानीमा स्थानीय साझेदार अनिवार्य गर्ने व्यवस्थालाई नेपाल दूरसञ्चार प्राधिकरणले निरन्तरता दिएपछि एलन मस्कको स्टारलिंकको नेपाल प्रवेश फेरि अन्योलमा परेको छ।

प्राधिकरणले सार्वजनिक गरेको दूरसञ्चार नीतिको मस्यौदामा विदेशी लगानीकर्ताले नेपालमा दूरसञ्चार सेवा सञ्चालन गर्दा कम्तीमा २० प्रतिशत स्वदेशी लगानी सहभागिता हुनुपर्ने व्यवस्था कायमै राखेको छ। तर स्टारलिंकले भने आफ्नो शतप्रतिशत स्वामित्व कायम रहने गरी नेपालमा सेवा सञ्चालन गर्न पाउनुपर्ने अडान राख्दै आएको छ।

नेपालको २० प्रतिशत स्थानीय साझेदारी र स्टारलिंकको शतप्रतिशत स्वामित्वको अडानबीच सहमति जुट्न नसक्दा स्याटेलाइट इन्टरनेट सेवा विस्तारको योजना अघि बढ्न कठिन देखिएको हो।

स्टारलिंकले छिमेकी भारतमा दोस्रो पुस्ताको स्याटेलाइट नेटवर्क विस्तारका लागि पुनः अनुमति प्रक्रिया अघि बढाइरहेको छ। भारतमा बजार विस्तारको तयारी गरिरहँदा नेपालमा भने विदेशी लगानीसम्बन्धी पुरानै व्यवस्था दोहोरिएपछि कम्पनीको प्रवेश झन् अनिश्चित बनेको छ।

दूरसञ्चार क्षेत्रका कतिपय जानकारले विदेशी कम्पनीको स्वामित्वमा सीमा तोक्नेभन्दा लगानी आकर्षित गर्ने वातावरण बनाउनुपर्ने धारणा राखेका छन्। उनीहरूका अनुसार विश्वस्तरीय प्रविधि कम्पनीलाई स्थानीय साझेदार अनिवार्य गर्ने व्यवस्थाले नेपालमा लगानी गर्न चाहने कम्पनीलाई निरुत्साहित गर्न सक्छ।

गत जेठमा स्टारलिंककी निर्देशक रेबिका स्लिक हन्टर नेपाल आएकी थिइन्। उनले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग भेट गरी नेपालमा स्याटेलाइट इन्टरनेट सेवा सञ्चालन गर्ने कम्पनीको रुचि रहेको जानकारी गराएकी थिइन्।

भेटका क्रममा हन्टरले सेवा सञ्चालनका लागि अनुमति लिन खोज्दा नीतिगत र कानुनी जटिलता रहेको भन्दै त्यसलाई सहज बनाउन आग्रह गरेकी थिइन्। विशेषगरी विद्यमान दूरसञ्चार कानुनमा रहेको वैदेशिक लगानीसम्बन्धी प्रावधान हटाउन उनले आग्रह गरेको बताइएको छ।

तर प्रस्तावित दूरसञ्चार नीतिमा पनि पुरानै व्यवस्था दोहोरिएपछि स्टारलिंकका लागि नेपालमा प्रवेश गर्ने बाटो सहज नभएको हो।

दूरसञ्चार नीति, २०६० ले दूरसञ्चार क्षेत्रमा विदेशी लगानी भित्र्याउने नीति लिँदै त्यस्तो लगानीमा न्यूनतम २० प्रतिशत स्वदेशी सहभागिताको व्यवस्था गरेको थियो। नयाँ मस्यौदाले पनि यही प्रावधानलाई निरन्तरता दिएको छ।

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत राधेश पन्त भने विदेशी कम्पनीलाई अधिकतम ८० प्रतिशत स्वामित्वमा सीमित गर्ने व्यवस्था उपयुक्त नभएको बताउँछन्।

कुनै कम्पनी आफैँले स्थानीय साझेदारलाई हिस्सा दिन चाहेमा त्यसलाई अलग रूपमा हेर्न सकिने भन्दै पन्तले विदेशी लगानी आकर्षित गर्न चाहने हो भने स्वामित्वको सीमाका कारण प्रतिष्ठित कम्पनीलाई नेपाल प्रवेशमै रोक्ने नीति पुनर्विचार गर्नुपर्ने बताएका छन्।

गगन र देउवा दुईतिर

काठमाडौं। नेपाली कांग्रेसभित्रको विवाद मिल्नुको साटो झन् पेचिलो बन्दै गएको छ । संस्थापन पक्ष १५औँ महाधिवेशनको तयारीमा अघि बढिसकेको छ भने शेरबहादुर देउवा पक्ष त्यसलाई रोक्न अदालत जाने तयारीमा छ ।

दुवै पक्षका नेताहरूको पछिल्लो गतिविधिले कांग्रेसभित्र विभाजनको जोखिम बढेको देखिएको छ ।

सभापति गगन थापाले भने पार्टीभित्र सहमतिको सम्भावना अझै रहेको बताएका छन् । सहमतिको वातावरण बनाउनकै लागि वडा तहको अधिवेशनको मिति केही पर सारिएको उनको भनाइ छ ।

थापाले केही नेता जस्तोसुकै अवस्थामा पनि पार्टी प्रक्रियामा सहभागी नहुने भए पनि बाँकी नेताहरू सहमतिमा आउने विश्वास व्यक्त गरेका छन् । सहमतिको प्रयास चलिरहेका बेला अर्को समूहका नेताहरू एकपछि अर्को गर्दै अदालत पुगेपछि समस्या थपिएको उनको भनाइ छ ।

उनले असहमति भए अदालत धाउनुभन्दा पार्टी कार्यालयमा आएर छलफल गर्न र महाधिवेशन प्रक्रियामा सहभागी हुन अर्को पक्षलाई आग्रह गरेका छन् ।

तर देउवा पक्ष भने महाधिवेशन प्रक्रिया स्थगित गर्न माग गर्दै फेरि सर्वोच्च अदालत जाने तयारीमा छ । शुक्रबार पनि उक्त समूहका केही नेता सर्वोच्च पुगेका थिए । तर निवर्तमान उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरूले थप छलफल नगरी अघि बढ्दा समस्या झन् जटिल हुने भन्दै उनीहरूलाई फर्काएका थिए ।

सोमबार फेरि अदालत जाने तयारी भइरहेको देउवा पक्षका नेताहरू बताउँछन् । पुनरवलोकनको निस्सा पाएपछि उत्साहित बनेको यो समूह अहिले अदालतको आदेश कुरेर बसेको देखिन्छ ।

यता संस्थापन पक्ष भने महाधिवेशनको काम रोक्ने पक्षमा छैन । यही कारण कांग्रेसभित्रको विवाद अब ‘कसले महाधिवेशन गराउने र कसले रोक्ने’ भन्ने लडाइँमा परिणत हुँदै गएको छ ।

संस्थापनइतरका एक नेताले कांग्रेस विभाजनको संघारमा पुगिसकेको बताएका छन् । उनका अनुसार संस्थापन पक्षले १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाइसकेपछि दुवै पक्षबीच पुनः सहमति हुने सम्भावना निकै कमजोर बनेको छ ।

‘एकथरीले महाधिवेशन गर्ने अनि अर्को थरी बाहिर बस्ने भएपछि कसरी मिल्छ ? एक महिनामा दुईवटा महाधिवेशन हुँदैन । अब हप्ता–दस दिनमै कुनै चमत्कार भयो भने भयो, नत्र फुटिगयो नि अब !’ ती नेताले भने ।

उनको बुझाइमा अन्ततः अदालतले जसको पक्षमा फैसला गर्छ, त्यही पक्ष कांग्रेसको आधिकारिक हुने र अर्को पक्षले नयाँ पार्टी गठन गर्नुपर्ने अवस्था आउन सक्छ ।

कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी भने अन्तिम समयसम्म सहमतिको प्रयास जारी रहने बताउँछन् । उनका अनुसार विधानविपरीत भएको राष्ट्रिय भेलालाई कांग्रेसले मान्यता नदिने र सभापति गगन थापाको नेतृत्वमा नियमित महाधिवेशनमा जाने प्रस्ताव संस्थापन पक्षले राखेको थियो । तर अर्को समूह त्यसमा सहमत हुन नसकेको उनको भनाइ छ ।

अब कांग्रेसभित्रको संकट समाधान गर्ने जिम्मा नेताहरूको संवादले लिन्छ कि अदालतको आदेशले भन्ने प्रश्न पेचिलो बनेको छ ।

महाधिवेशनको कार्यतालिका एकातिर अघि बढ्नु र आधिकारिकताको विवाद अर्कोतिर अदालतमा पुग्नुले कांग्रेसको संकट सामान्य आन्तरिक विवादभन्दा धेरै पर पुगेको देखिएको छ ।

ग्यास आयो,अभाव हटेन,के हो समस्या?

काठमाडौं। नेपाल आयल निगमले एलपी ग्यासको आयात तथा बजार आपूर्ति बढाउँदै लगे पनि उपभोक्ताले सहज रूपमा सिलिन्डर पाउन सकेका छैनन्। पछिल्लो समय आयात परिमाण उल्लेख्य बढे पनि बजारमा अभाव कायमै रहेको छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालले ५७ हजार ३३४.१ टन एलपी ग्यास आयात गरेको छ। यसको मूल्य आठ अर्ब ४६ करोड रुपैयाँ बराबर रहेको छ। एक महिनामा भएको यो आयात हालसम्मकै उच्च हो।

गत आर्थिक वर्षको साउनमा ४४ हजार ३१८.८९ टन ग्यास आयात भएको थियो। त्यसबापत चार अर्ब ६६ करोड रुपैयाँ खर्च भएको थियो। यस वर्षको आयात परिमाण गत वर्षको सोही अवधिको तुलनामा २९.३७ प्रतिशत बढी हो।

नेपालमा एलपी ग्यासको औसत मासिक माग करिब ४५ हजारदेखि ५० हजार टन रहेको अधिकारीहरू बताउँछन्। बजारको मागअनुसार आपूर्ति कायम गर्न पछिल्ला महिनामा आयात बढाउँदै लगिएको तथ्यांकले देखाउँछ।

निगमले असारमा सात अर्ब ७२ करोड रुपैयाँ बराबरको ५२ हजार ५२.५१ टन ग्यास आयात गरेको थियो। जेठमा पाँच अर्ब ५२ करोड रुपैयाँ बराबरको ४७ हजार ५९८.०६ टन, वैशाखमा चार अर्ब ६१ करोड रुपैयाँ बराबरको ४४ हजार ३१३.७८ टन र चैतमा चार अर्ब १६ करोड रुपैयाँ बराबरको ४१ हजार १०८.१२ टन एलपी ग्यास आयात भएको थियो।

तर, आयात बढेको तथ्यांकसँगै बजारमा सहज आपूर्ति हुन नसकेको गुनासो पनि कायमै छ। देशका विभिन्न स्थानमा उपभोक्ताले अझै सिलिन्डरका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेको बताएका छन्।

चालु आर्थिक वर्षको पहिलो महिनामा कच्चा सोयाबिन तेल र डिजेलपछि एलपी ग्यास नेपालमा आयात हुने तेस्रो ठूलो वस्तु बनेको छ।

पछिल्ला महिनामा अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा आएको अवरोधले पनि नेपालमा ग्यास आपूर्तिमा दबाब परेको थियो। इजरायल–इरान द्वन्द्वपछि इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेकाले पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय ढुवानी प्रभावित भएको थियो। त्यसको असर एसियाली बजार हुँदै नेपालको आपूर्ति शृंखलासम्म परेको थियो।

नेपालले एलपी ग्याससहित पेट्रोलियम पदार्थको आवश्यकता भारतबाट पूरा गर्दै आएको छ। भारत सरकारको स्वामित्वमा रहेको इन्डियन आयल कर्पोरेसन (आईओसी) नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने एक मात्र कम्पनी हो।

आपूर्ति संकट चर्किएपछि सरकारले गत मार्चमा ग्यास बोटलिङ कम्पनीलाई आधा भरिएका सिलिन्डरसमेत बजारमा पठाउन अनुमति दिएको थियो। नियमित आपूर्ति प्रभावित भएका बेला उपभोक्तालाई तत्काल ग्यास उपलब्ध गराउने उद्देश्यले ल्याइएको उक्त व्यवस्थाले अभाव केही हदसम्म कम गरेको थियो।

आपूर्ति अवस्था सुधार हुन थालेपछि साउनको पहिलो सातादेखि आधा भरिएका सिलिन्डर बजारमा पठाउने व्यवस्था हटाइएको थियो। त्यसपछि पूर्ण क्षमतामा भरिएका सिलिन्डर मात्र बजारमा आउन थाले पनि माग बढ्दा अभाव पुनः चर्किएको छ।

अभाव बढेपछि सरकारले केही दिन आफ्नै संयन्त्र परिचालन गरेर एलपी ग्यास वितरणसमेत गरेको थियो। सरकारी हस्तक्षेपपछि पनि बजारमा नियमित र सहज आपूर्ति भने सुनिश्चित हुन सकेको छैन।

काठमाडौंको थलीस्थित अधिकारी स्टोर्सका सञ्चालक चिरञ्जीवी अधिकारीका अनुसार उपभोक्ताले अझै ग्यासका लागि लामो समय प्रतीक्षा गर्नुपरेको छ।

उनका अनुसार पसलमा दुई लट सिलिन्डर आएपछि मात्र नाम दर्ता गराएका सबै ग्राहकलाई ग्यास उपलब्ध गराउन सकिने अवस्था छ। बजारमा आपूर्ति क्रमशः सहज हुने अपेक्षा गरिएको उनले बताए।

ट्रम्पले थर्काएपछि इरानले पनि दियो ‘भूकम्पीय’ धम्की

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई दबाबमा पार्न अहिलेसम्मकै कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएपछि तेहरानले अमेरिकाको ‘आर्थिक युद्ध’मा सहभागी हुने देशविरुद्ध प्रतिशोध गर्ने चेतावनी दिएको छ ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाइले अमेरिकाले लगाउने प्रतिबन्धमा साथ दिने कुनै पनि देशलाई शत्रुको व्यवहार गरिने बताएका हुन् । उनले त्यस्ता देशविरुद्ध ‘भूकम्पीय’ स्तरको प्रतिशोध हुन सक्ने चेतावनी दिएका छन् ।

सरकारी प्रसारक आईआरआईबीसँग कुरा गर्दै रेजाइले छिमेकीसहित सबै देशलाई अमेरिकाको आर्थिक दबाब अभियानमा सहभागी नहुन आग्रह गरे । उनका अनुसार इरानले सुरुमा सम्बन्धित देशसँग वार्ता गरी अमेरिकाबाट दूरी कायम गर्न आग्रह गर्नेछ । त्यसबाट पनि समाधान ननिस्किए आफ्नो देशले त्यस्ता देशका हितलाई निशाना बनाउने उनले बताएका छन् ।

रेजाइको चेतावनी ट्रम्पले इरानमाथि ‘सबैभन्दा कडा आर्थिक अभियान’ सञ्चालन गर्ने घोषणा गरेको केही दिनपछि आएको हो । ट्रम्पले इरानलाई कुनै पनि प्रकारको सहयोग गर्ने देशले ठूलो आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि ट्रम्पको चेतावनी दोहोर्‍याउँदै इरानको पक्ष वा अमेरिकाको पक्षमध्ये एउटा रोज्नुपर्ने बताएका छन् । उनले इरानबाट निर्यात हुने तेलको ठूलो हिस्सा खरिद गर्ने चीनलाई समेत अमेरिकाको अभियानमा सहयोग गर्न आग्रह गरेका छन् । प्रस्तावित नयाँ प्रतिबन्धबारे थप विवरण सोमबार सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकाले नयाँ प्रतिबन्ध लगाउने तयारीको विरोध गरेका छन् । उनले तेस्रो देशमाथि लगाइने यस्तो प्रकारको प्रतिबन्धलाई अन्तर्राष्ट्रिय कानुनविपरीत भन्दै अमेरिकाले आफ्नो अधिकार अन्य देशमाथि थोपर्न खोजेको आरोप लगाए ।

यसैबीच, लामो समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयास रोकिएका कारण क्षेत्रीय तनाव थप चर्किएको छ । इरानले होर्मुज जलडमरूमध्यमा नाकाबन्दी लगाएपछि विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एकमा जहाज आवागमन प्रभावित भएको छ ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा संयुक्त रूपमा आक्रमण सुरु गरेपछि इरानले होर्मुज जलडमरूमध्य बन्द गरेको थियो । त्यसपछि तेल तथा मललगायत वस्तुको मूल्यमा समेत तीव्र वृद्धि भएको थियो ।

इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार शनिबार इराकी तेल ट्यांकरलाई होर्मुज हुँदै आवतजावत गर्न विशेष अनुमति दिइएको छ । यद्यपि जलडमरूमध्यको अवस्था अझै अनिश्चित रहेको बताइएको छ ।

अमेरिकी नौसैनिक नाकाबन्दी नहटेसम्म जलमार्ग बन्द रहने इरानले जनाएको छ । जहाज आवागमन व्यवस्थापनका विषयमा इरान र ओमानबीच छलफल भइरहेको भए पनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन ।

तनाव चर्किरहेका बेला इजिप्टले भने अमेरिका र इरानलाई कूटनीतिक वार्तामा फर्कन आग्रह गरेको छ ।

इजिप्टका विदेशमन्त्री बद्र अब्देलात्ती र इरानी विदेशमन्त्री अब्बास अराघ्चीबीच फोनवार्ता भएको इजिप्टको विदेश मन्त्रालयले जनाएको छ । उनीहरूले क्षेत्रीय अवस्थाका साथै तनाव कम गर्न भइरहेका प्रयासबारे छलफल गरेका थिए ।

वार्तामा ओमान र इरानबीचको संवादलाई अघि बढाउने तथा अमेरिका–इरानबीचको समझदारी कार्यान्वयन पुनः सुरु गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ । क्षेत्रीय सुरक्षा र स्थायित्व सुनिश्चित गर्ने दीर्घकालीन सम्झौताका लागि कूटनीतिक बाटो पुनः खोल्नुपर्नेमा जोड दिइएको छ ।

अराघ्चीले इजिप्टका विदेशमन्त्रीलाई पछिल्ला घटनाक्रम, वार्ताको अवस्था र चुनौतीबारे इरानको धारणा जानकारी गराएका थिए ।

यसैबीच, अराघ्चीले पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल आसिम मुनीरसँग पनि फोनवार्ता गरेका छन् । उनीहरूबीच पश्चिम एसियामा शान्ति, स्थायित्व र सुरक्षा कायम गर्ने सम्भावित उपायबारे छलफल भएको बताइएको छ ।

२३ र २४ भदौको जेनजी विद्रोह होइन, विदेशी जासुसी विद्रोह : रवीन्द्र मिश्र

काठमाडौं। राजनीतिक टिप्पणीकार रवीन्द्र मिश्रले गत वर्षको २३ र २४ भदौको घटनालाई संसारकै सबैभन्दा सफल ‘विदेशी जासुसी विद्रोह’ भनेका छन् ।

थाहा नभएका अन्तर्राष्ट्रिय जासुसी संस्थाहरूले निर्दोष नेपाली युवाहरूको पीडा, असन्तोष, आक्रोश र अपेक्षालाई उनीहरूले समेत थाहै नपाउनेगरी प्रयोग गरी विद्रोह सम्पन्न गरेको मिश्रले बताए ।

तथ्यमा आधारित संसारका केही उत्कृष्ट जासुसी सिनेमा हेरेको, केही विद्रोहबारे पढेको र त्यसपछि सोचविचार गरी २३ र २४ भदौको घटनालाई ‘विदेशी जासुसी विद्रोह’को संज्ञा दिने निर्णयमा पुगेको उनले बताए ।

विगतमा मिश्र २३ भदौको घटनालाई जेनजी विद्रोह भन्थे । २४ भदौको घटनालाई घुसपैठ विद्रोह भन्ने गर्थे । यतिबेला भने उनको धारणामा परिवर्तन भएको हो ।

गत वर्षको २३ भदौमा नेपाली नवपुस्ताले सुशासन, भ्रष्टाचार नियन्त्रण, नातावादको अन्त्य र सामाजिक सञ्जालमा तत्कालीन सरकारले लगाएको प्रतिबन्ध फुकुवाको माग गर्दै प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनलाई दलाई लामाको स्वतन्त्र तिब्बत पक्षधर टिबेटान ओर्जिनल ब्लड (टीओबी)ले हिंसात्मक बनाउन प्रदर्शनमा उत्रिएका नवयुवालाई उत्तेजित बनाएको दाबी गरिएको छ ।

केहीबेरमै नयाँ बानेश्वर क्षेत्र युद्धमैदान जस्तो भयो । १९ जना जेनजी ढले । काठमाडौंबाहिर ४ जना गरी २३ जनाको मृत्यु भयो । यही घटनाले २४ भदौमा देश जल्यो ।

तत्कालीन सत्तारुढ दल नेकपा एमालेले अहिले पनि यो घटनालाई नेपाली नवयुवालाई प्रयोग गरेर अमेरिका, नेपाली सेना र टीओबीले गरेको बताउने गरेको छ । नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले पनि यसलाई विदेशी विद्रोह भन्ने गरेका छन् ।

कांग्रेस र नेकपाले विद्रोहबारे एक वर्ष भइसक्दा पनि आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेका छैनन् । रास्वपाले भने यसलाई युग परिवर्तनको नयाँ अध्यायका रूपमा चित्रण गर्दै आएको छ ।

यस्तो अवस्थामा नेपालमा राजा चाहिन्छ र देशलाई हिन्दुराष्ट्र बनाउनुपर्छ भन्ने राजनीतिक टिप्पणीकार रवीन्द्र मिश्रले २३ र २४ भदौको घटनालाई ‘विदेशी जासुसी विद्रोह’ भनेका हुन् ।

सात देशमा कांग्रेसको नेतृत्व फेरियो, को-को बने सभापति?

काठमाडौं । नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संस्था जनसम्पर्क समितिको नयाँ नेतृत्व चयन प्रक्रिया तीव्र बनेको छ ।

पार्टीको विशेष महाधिवेशनअघि सातवटा देशका जनसम्पर्क समितिले अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेका थिए । त्यसपछि पार्टीको केन्द्रीय नेतृत्व परिवर्तन भएसँगै थप सात देशका समितिले पनि अधिवेशन गरेका छन् ।

विशेष महाधिवेशनअघि अधिवेशन सम्पन्न गर्ने जनसम्पर्क समितिमा कुवेत, नर्वे, बहराइन, ओमान, साउदी अरेबिया, यूएई र मलेसिया छन् ।

हालसालै अधिवेशन सम्पन्न गर्ने थप देशका जनसम्पर्क समितिमा अमेरिका, जापान, भारत, बेल्जियम, फ्रान्स, दक्षिण कोरिया र नेदरल्याण्ड छन् ।

अधिवेशनबाट कुवेतमा केशर घलान, नर्वेमा पारसमणि मिश्र, बहराइनमा शेरबहादुर रावत, ओमानमा सञ्जयकुमार साह, साउदी अरेबियामा तुसनबहादुर थापा, यूएईमा भुवानीप्रसाद तिमिल्सिना र मलेसियामा चोलाकान्त पंगेनीको नेतृत्वमा नयाँ समिति बनेको छ ।

त्यस्तै, जापानमा राजेन्द्रकुमार जमरकट्टेल, दक्षिण कोरियामा भजिन्द्र क्षेत्री, नेदरल्यान्डमा जितेन्द्रकुमार श्रेष्ठ, बेल्जियममा देवेन्द्र शर्मा (देबु), फ्रान्समा शिवराम भण्डारी, भारतमा दिपक झा, अमेरिकामा मुनिन्द्र नेम्बाङ र हङकङमा शैलेन्द्रसिंह बोगटी सभापति रहेको नयाँ समिति गठन भएको छ ।

नेपाली कांग्रेसका अनुसार विभिन्न ३७ देशमा जनसम्पर्क समिति रहेका छन् ।

रविको चीन भ्रमण फेरि स्थगित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण फेरि स्थगित भएको छ ।

अगस्ट दोस्रो साता हुने भनिएको भ्रमण एक महिना पर सारिए पनि सेप्टेम्बर दोस्रो सातामा समेत लामिछाने नजाने भएका हुन् ।

उच्च स्रोतका अनुसार अब चीनमा रास्वपाका सांसदहरूको टोली मात्र जानेछ । सभापति लामिछानेको भ्रमण भने अर्को उपयुक्त मितिमा हुने बताइएको छ । तर, त्यसको मिति अहिलेसम्म तय भइसकेको छैन ।

भारत भ्रमणपछि चीन जाने तयारीमा रहेका लामिछानेको भ्रमण पटक–पटक सर्दै गएको हो । सुरुमा अगस्ट दोस्रो साता हुने भनिएको भ्रमण पछि एक महिनाका लागि सारिएको थियो । पछिल्लो समय सेप्टेम्बर दोस्रो साताका लागि तयारी भए पनि अन्ततः सभापति नजाने टुंगो लागेको स्रोतको भनाइ छ ।

सरकारी स्रोतका अनुसार लामिछानेले पछि अनुकूल समयमा चीन भ्रमण गर्नेछन् । भ्रमणको नयाँ मिति भने आपसी समन्वयपछि तय गरिनेछ ।

यसैबीच, रास्वपा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले भने छिट्टै भारत भ्रमणमा जाने तयारीमा छन् ।

भ्रमणका क्रममा उनले भारतीय उच्च तहका अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

स्क्रबटाइफसबाट एकको मृत्यु

सल्यान। सल्यानमा स्क्रबटाइफस तथा ज्वरोका बिरामी बढ्दै गएका छन्। दार्मा गाउँपालिकामा पछिल्लो एक सातायता संक्रमण बढेपछि एक जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढीमा स्क्रबटाइफस पुष्टि भएको छ।

दार्मा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार गाउँपालिका–५ का ६९ वर्षीय तुलबहादुर खड्काको स्क्रबटाइफसका कारण मृत्यु भएको हो। ज्वरो आएपछि स्वास्थ्य परीक्षण गर्दा किटमार्फत संक्रमण पुष्टि भएको थियो।

खड्कालाई मधुमेहको समस्या पनि थियो। फोक्सोमा पानी जमेको देखिएपछि थप उपचारका लागि दाङ हुँदै नेपालगन्ज रिफर गरिएको थियो। उपचारपछि घर फर्कने क्रममा बाटोमै उनको मृत्यु भएको बस्नेतले जानकारी दिए।

संक्रमण बढ्दै गएपछि शनिबार पनि एक बिरामीलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ। विशेषगरी गाउँपालिका–३ मा ज्वरो आएका बिरामीको परीक्षण गर्दा २५ जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ।

स्वास्थ्य शाखाका अनुसार दैनिक ज्वरोका बिरामी बढिरहेका छन्। परीक्षण गरिएकामध्ये दैनिक चारदेखि पाँच जनासम्ममा स्क्रबटाइफस पुष्टि भइरहेको छ। अन्य वडामा पनि व्यापक परीक्षण गरे संक्रमितको संख्या अझ बढ्न सक्ने स्वास्थ्य शाखाको अनुमान छ।

‘एक सातादेखि समस्या देखिएको छ। ज्वरोका बिरामी पनि बढिरहेका छन्। परीक्षण गर्दा दैनिक चार–पाँच जनामा स्क्रबटाइफस पुष्टि भइरहेको छ,’ स्वास्थ्य शाखा प्रमुख बस्नेतले भने।

संक्रमण नियन्त्रण, परीक्षण तथा उपचार व्यवस्थापनका लागि प्रदेश र संघीय सरकारका सम्बन्धित निकायसँग सहयोग माग्ने तयारी भइरहेको उनले बताए।

गत वर्ष पनि दार्मामा स्क्रबटाइफसको संक्रमण व्यापक फैलिएको थियो। गाउँपालिकाका अनुसार गत वर्ष पाँच सयभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो भने चार जनाको मृत्यु भएको थियो।

चिकित्सकका अनुसार संक्रमित माइटको टोकाइबाट स्क्रबटाइफस सर्छ। झाडी, खेतबारी, वनजंगल तथा घरवरपरका घाँस र झाडीमा यस्ता माइट पाइन्छन्।

स्क्रबटाइफसबाट जोगिन खेतबारी, वनजंगल तथा झाडीमा जाँदा शरीर ढाकिने कपडा र सम्भव भएसम्म बुट प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन्।

घरवरपरका झाडी तथा घाँस सफा राख्न, भुइँमा नबस्न र ज्वरो, टाउको तथा शरीर दुख्नेजस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउन पनि आग्रह गरिएको छ।

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन [तस्वीरहरू]

काठमाडौं। बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनामा न्यायको माग गर्दै स्वतन्त्र नागरिक समूहले आइतबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

प्रदर्शनमा सहभागीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न, पीडित परिवारलाई न्याय दिलाउन तथा घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूले विभिन्न माग लेखिएका प्लेकार्ड बोकेर नाराबाजीसमेत गरेका थिए।

यसैबीच, गरिमा चौधरीमाथि भएको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। गृह मन्त्रालयमा शनिबार साँझ सुरु भएको छलफल राति १ बजेसम्म चलेपछि सहमति जुटेको हो।

छलफलमा गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्री, सरकारका प्रतिनिधि तथा गरिमा चौधरीका अभिभावक सहभागी थिए।

सहमतिअनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुनमा रहेको कसुर र सजायसम्बन्धी व्यवस्था पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गरिने भएको छ। त्यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गरिने सहमतिमा उल्लेख छ।

त्यस्तै, पीडित परिवारको अपेक्षाअनुसार बालिका गरिमा चौधरीको सालिक निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी पहल गर्ने सहमति भएको छ।

पीडित बालिकाका अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कारअनुसार अन्त्येष्टि गर्न पाउने विषयमा पनि सहमति भएको छ।

सहमति पत्रमा नेपाल सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री साविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सिता बादी तथा कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीले हस्ताक्षर गरेका छन्।

पीडित परिवारका तर्फबाट गरिमाका बुवा मनोजकुमार चौधरी र आमा मीनमती चौधरीले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

सरकार र पीडित परिवारबीच भएको सहमतिले न्यायिक प्रक्रिया अघि बढाउने तथा पीडित परिवारका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ।

तर प्रदर्शनकारीहरूले सहमति कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्ने र गरिमा चौधरीको परिवारले न्यायको अनुभूति गर्ने गरी दोषीमाथि प्रभावकारी कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्।


 

तीन वर्षीया बालिका घरपछाडिको झाडीमा मृत फेला

सप्तरी। सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा ३ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।

स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया खातुन घरपछाडिको झाडीमा मृत फेला परेकी हुन्। परिवारका अनुसार आइतबार बिहान करिब ९ बजेसम्म बालिका घरमै देखिएकी थिइन्।

त्यसपछि खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा बालिकाको शव फेला परेको हो।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काका अनुसार घटनाबारे आवश्यक अनुसन्धान तथा छानबिन अघि बढाइएको छ।

प्रहरीले बालिकाको मृत्युको कारण खुलिनसकेको र घटनाका सबै पक्षबारे अनुसन्धान भइरहेको जनाएको छ।

घटनास्थलमा स्थानीयको बाक्लो भिड लागेको छ।

‘जदौ’को टिजर सार्वजनिक

काठमाडौं। फिल्म ‘जदौ’को टिजर सार्वजनिक भएको छ । हाइटेक इन्टरटेन्मेन्टमार्फत सार्वजनिक टिजरमा नयाँ पुस्ताका युवायुवतीबीचको त्रिकोणात्मक प्रेमसँगै अभिभावक पुस्ताबीचको द्वन्द्वलाई समेत प्रस्तुत गरिएको छ ।

अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्मको टिजरले अभिनेता प्रभातपाल ठकुरीको अभिनेत्री नीति शाह र राजश्री थापासँगको प्रेमसम्बन्धको झल्को दिन्छ । अभिभावक पुस्ताको प्रतिनिधित्व भने अभिनेता मुकुन भुसाल र अभिनेत्री ऋचा शर्माले गरेका छन् ।

असोज ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने ‘जदौ’लाई अन्तरजातीय प्रेमजोडीको सामाजिक कथाका रूपमा प्रस्तुत गरिएको छ । निर्देशक अन्जन शर्माका अनुसार नेपाली समाजमा विद्यमान जातीय विभेदका कारण उत्पन्न समस्या र त्यसको समाधानका लागि चालिएका कदमलाई फिल्ममा प्रस्तुत गरिएको छ ।

लेखकसमेत रहेका निर्देशक काजी लिम्बूले मनोरञ्जनसँगै जातीय भेदभाव र असमानताको खाडल पुर्नुपर्ने सन्देश फिल्मले दिने बताए ।

समीश्रण मुभीज एन्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको फिल्ममा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभातपाल ठकुरी, राजश्री थापासहित विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा, रोहित कार्की र स्वस्तिका चौधरीलगायत कलाकारको अभिनय छ ।

श्याम तामाङ र नवराज उप्रेतीले छायांकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन् । राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल र नारायण शास्त्री सहनिर्माता रहेको फिल्मका निर्माता सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल हुन् ।

शान्ति पुडासैनी कार्यकारी निर्माता तथा बिमला भण्डारी प्रोडक्सन हेड रहेको फिल्मलाई एनजिसिएन ग्रुपले देशव्यापी वितरण गर्नेछ ।

१४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त पिडित

ललितपुर। पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग १४ बुँदे सहमति भएपछि आज आ–आफ्नो घर फर्किएका छन् ।

नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएपछि उनीहरूले धर्ना कार्यक्रम स्थगित गरेका हुन् ।

सहमति भएपछि सरकारले आज बिहान ८ः५० बजेदेखि साझा यातायातका बसको व्यवस्था गरी ऋणीहरूलाई आ–आफ्नो गन्तव्यतर्फ पठाएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई आठवटा बसमार्फत बिदाइ गरिएको हो ।

झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत जिल्लाका ऋणीहरूलाई सम्बन्धित क्षेत्रतर्फ पठाइएको छ ।

सरकारसँग भएको सहमतिपछि लामो समयदेखि पुल्चोकमा धर्ना दिँदै आएका ऋणीहरू घर फर्किएका हुन् ।

 

जमिन कटानपछि तारकेश्वरमा पहिरो, ५० घर प्रभावित [तस्वीरहरू]

काठमाडौं। तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा गरिएको जमिन कटानपछि पहिरो जाँदा करिब ५० घर प्रभावित भएका छन् ।

पहिरोका कारण ४–५ घर प्रत्यक्ष रूपमा उच्च जोखिममा परेका छन् भने टोलको आवतजावतमा समेत समस्या भएको छ ।

स्थानीयका अनुसार घर निर्माणका लागि डोजर प्रयोग गरी जमिन खनेपछि उक्त क्षेत्रमा पहिरोको समस्या देखिएको हो । करिब दुई वर्षदेखि जमिन खन्ने तथा घर निर्माणको काम भइरहेको भए पनि निर्माण कार्य निकै ढिलो गतिमा अघि बढेको स्थानीयको गुनासो छ ।

निर्माणाधीन घरका कारण सडकमा माटो तथा बालुवा थुप्रिँदा हिँडडुल गर्नसमेत कठिन भएको स्थानीयले बताएका छन् । निर्माणस्थलबाट माटो हटाउने तथा सडक सफा गर्ने काम नियमित नभएको उनीहरूको भनाइ छ ।

स्थानीयका अनुसार निर्माणाधीन घर किरण रिजालको हो । निर्माणका क्रममा आवश्यक सावधानी नअपनाउँदा टोलवासीले समस्या भोग्नुपरेको उनीहरूको आरोप छ । उनीहरूले निर्माण पक्षलाई तत्काल माटो हटाउन, सडक व्यवस्थित गर्न तथा पहिरो नियन्त्रणका लागि आवश्यक काम गर्न आग्रह गरेका छन् ।

स्थानीयका अनुसार पहिरो जानुअघि उक्त क्षेत्रमा यस्तो समस्या थिएन । डोजर लगाएर जमिन काटेपछि मात्रै पहिरोको समस्या सुरु भएको उनीहरूको भनाइ छ ।

समस्या समाधानका लागि स्थानीयले जनप्रतिनिधिलाई समेत जानकारी गराउँदै आएका छन् । वडाध्यक्षलाई पटक–पटक पहिरो तथा सडकको अवस्थाबारे तस्बिर र भिडियोसहित जानकारी गराए पनि ठोस पहल हुन नसकेको उनीहरूको गुनासो छ । उपप्रमुखबाट भने समस्या हेर्ने आश्वासन पाएको स्थानीयले बताएका छन् ।

टोल सुधार समितिमार्फत निर्माण पक्षसँग पनि समस्या समाधानका विषयमा छलफल भइरहेको छ । स्थानीयले पहिरो नियन्त्रण तथा सुरक्षित आवतजावतका लागि सम्बन्धित निकाय र निर्माण पक्षले तत्काल पहल गर्नुपर्ने माग गरेका छन् ।


 

स्पार्टाकस : एक मसीह

काठमाडाैं। स्वतन्त्रता र शोषणविरुद्धका संघर्षले मानव इतिहासमा धेरै ठूलाठूला क्रान्ति भएका छन्। यस्ता संघर्षले पुराना सत्ता र सामाजिक व्यवस्थालाई पराजित मात्र गरेका छैनन्, क्रान्ति सम्भव छ भन्ने मानकसमेत स्थापित गरेका छन्।

अमेरिकी स्वतन्त्रता संग्राम, फ्रान्सेली क्रान्ति, हैटी क्रान्ति, रुसी अक्टोबर क्रान्ति र चीनको सांस्कृतिक क्रान्तिलाई यसकाे उदाहरणका लागि लिन सकिन्छ।

उल्लेखित क्रान्तिहरूका पृष्ठभूमि र उद्देश्य फरक भए पनि स्वतन्त्रता, समानता, अधिकार र शोषणविरुद्धको प्रतिरोध तिनका महत्वपूर्ण आधार थिए।

यस्तै प्राचीन रोममा दास प्रथाविरुद्ध स्पार्टाकसले गरेको विद्रोह पनि यसमा जोड्न सकिन्छ। हावर्ड फास्टद्वारा ‘स्पार्टाकस’ यही ऐतिहासिक विद्रोहमा आधारित उपन्यास हो।

प्राचीन दास समाजमा आधारित रहेर लेखिएको स्पार्टाकस उपन्यासलाई पछिल्लो समय देखिएका सुनिएका क्रान्तिहरूको उद्गम मान्न सकिन्छ। अमेरिकी लेखक तथा ऐतिहासिक उपन्यासकार हावर्ड फास्टद्वारा अत्यन्त उत्कृष्ट ढंगले लेखिएको स्पार्टाकस’ उपन्यासमा उनको अद्भुत लेखन कौशलको उच्चतम स्तर देखिन्छ।

स्पार्टाकस र उसका दास सेनाको कथा इतिहासका महाकाव्यात्मक घटनामध्ये एक हो। ईसाको सुरुआततिर भागेका दासहरूले बनाएका करिब ७० हजार सेनाले स्पार्टाकस र भागेका ग्लाडिएटरहरूको वीर समूहको नेतृत्वमा रोमको सैन्य शक्तिलाई झन्डै चार वर्षसम्म चुनौती दियो। 

उनीहरूले रोमका उत्कृष्ट सैन्य टुकडीहरूलाई पराजित गरे, दक्षिणी इटालीको ठूलो भू-भागमाथि नियन्त्रण कायम गरे र स्वयं ‘अनन्त नगरी’ रोमलाई समेत खतरा उत्पन्न गराए।

अन्ततः उनीहरू दासप्रथामा आधारित राज्यसत्ताबाट पराजित भए। त्यो व्यवस्था पतनको प्रक्रियामा रहे पनि अझै बलियो र स्थिर थियो। इतिहासकारहरूले जसलाई सौम्य भाषामा ‘दास विद्रोह’ वा ‘ग्लाडिएटर युद्ध’ भन्ने गरेका छन्, त्यो स्वतन्त्रताका लागि भएको क्रान्तिकारी संघर्ष थियो।

यसले करिब चार शताब्दीपछि परिपक्व हुने दास विद्रोहको पूर्व संकेत दिएको थियो, जसले अन्ततः ‘बर्बर आक्रमण’ र रोमन साम्राज्यको विनाशको बाटो खोल्यो र सँगै त्यस साम्राज्य टिकेको दास-उत्पादन प्रणालीसमेत समाप्त भयो।

स्पार्टाकसको विद्रोहले आधुनिक सर्वहारा वर्गका क्रान्तिकारी नेताहरूको ध्यान धेरै पहिलेदेखि आकर्षित गरेको थियो। ‘स्पार्टाकस’ उपन्यासको बारेमा कार्ल मार्क्सले सन् १८६१ मा फ्रेडरिक एंगेल्सलाई लेखेका थिए:

‘बेलुकाको समय केही आरामका लागि म एपियनको रोमन गृहयुद्ध पढिरहेको छु… स्पार्टाकस प्राचीन इतिहासकै सबैभन्दा उत्कृष्ट व्यक्तिका रूपमा देखापर्छ। महान् सेनापति, उच्च चरित्रको व्यक्ति, प्राचीन सर्वहाराको वास्तविक प्रतिनिधि।’

पछि सोभियत इतिहास लेखनले पनि ‘प्राचीन संसारबाट मध्ययुगतर्फको संक्रमण’ को विश्लेषणमा स्पार्टाकस विद्रोहलाई महत्वपूर्ण घटनाका रूपमा लियो।

स्पार्टकस पढ्ने क्रममा पात्र, कथा र त्यसमा उल्लेखित परिवेशसँग पाठकलाई घुलमिल हुन धेरै गाह्रो हुन्छ। स्पार्टाकसको कथा निकै कमलाई थाहा भएको हुनाले केही समकालीन लेखकका छरिएका र अपूर्ण विवरणहरूबाट मात्र उनको कथा पुनर्निर्माण गर्न सकिन्छ।

इन्साइक्लोपिडिया ब्रिटानिकाको रोमसम्बन्धी करिब एक लाख शब्दको लामो लेखमा समेत स्पार्टाकस विद्रोहका लागि तीन वाक्य छुट्याइएको छ। त्यस्तै, समकालीन साहित्यमा कतै-कतै स्पार्टाकसको विद्रोहलाई ‘हताश जंगलीहरू’, ‘कानुनविहीनहरू’, ‘लुटेराहरू’ वा ‘गरिब किसानहरू’ को आकस्मिक विद्रोहका रूपमा चित्रण गरेर यसको क्रान्तिकारी चरित्रलाई कमजोर पार्ने प्रयास गरिएको छ।

हावर्ड फास्टको उपन्यासमा स्पार्टाकसलाई अन्ततः पराजित गर्ने रोमन सेनापति आफ्ना साथीहरूसँग भव्य भिल्ला सालारियामा बसेर एउटा कुरा बताउँछन्। सिनेटको आदेशमा उनले विद्रोही दासहरूले ज्वालामुखी ढुंगाबाट भेसुभियसको ढलानमा बनाएका दुई भव्य स्मारकसमेत नष्ट गरेका थिए।

उनले भनेका छन्- उनीहरूले ती मूर्तिहरूलाई पूर्णरूपमा ध्वस्त पारेर भग्नावशेषमा परिणत गरे, ताकि त्यसको कुनै चिनोसमेत बाँकी नरहोस्। त्यसैगरी स्पार्टाकस र उसको सेनालाई पनि नष्ट गरिएको थियो र समयसँगै उनीहरूले स्पार्टाकसले के गरेको थियो र कसरी गरेको थियो भन्ने स्मृतिसमेत मेटाइदिनेछन्।

रोमन प्रेटर एम. लिसिनियस क्राससको यो भविष्यवाणी लगभग सफल भएको थियो। यसरी हावर्ड फास्टले स्वतन्त्रताका लागि भएको यो वीर दास युद्धलाई पुनः जीवित बनाए र त्यसको ऐतिहासिक महत्त्वलाई व्याख्या गरे। 

यो यस्तो युद्ध थियो, जसले त्यतिबेला पूर्ण रूपमा हासिल गर्न नसकिएको परिवर्तनको सम्भावनालाई अत्यन्त नजिक ल्याएको थियो, त्यस परिवर्तनका लागि आवश्यक आर्थिक र राजनीतिक विकास भने अझै पूरा हुन बाँकी थियो।

उपन्यासको परिवेश र कथा दुई हजार वर्षभन्दा पुरानो भए पनि यो स्पष्ट छ कि ‘स्पार्टाकस’ त्यहि समयलाई परिभाषित गर्न लेखिएको थियो। रोमन शासक वर्गको आडम्बरपूर्ण पतनलाई दासहरूको सरल गरिमा र प्रगतिशील ऊर्जासँग तुलना गरिएको छ। यसले आजका समाजका मुख्य वर्गहरूबीचको संघर्षका अनेक प्रतिरूपहरूलाई प्रतीकात्मक रुपमा झल्काउने कोसिस गरेको छ।

उपन्यासमा रोमन राजनीतिक नेताहरूको भ्रष्टाचार, उनीहरूको घोर यौन अनैतिकता र विकृति, महिलाहरूको अवमूल्यन तथा युवापुस्ताको पतन चित्रित गरिएको छ। जहाँ शासक वर्ग र चाकरीदारहरू ग्लाडिएटरहरूलाई जोडीजोडी मृत्युको मुखमा पठाएर हुने क्रूर मनोरञ्जनमा रमाउँछन्।

राज्यका ‘शत्रुहरू’ को सामूहिक क्रुसिफिक्सनप्रति उनीहरूमा अस्वाभाविक आकर्षणलाई झल्काइएको छ। उपन्यासमा भव्य सार्वजनिक स्नानगृह, विशाल लातिफुन्डिया जमिनदारी र शासक परिवारका विलासी भोजनहरूको विपरीत दासहरूको भयावह शोषण र शहरका गरिबहरूको हत्यारा गरिबी देखाउन खोजिएको छ ।

स्पार्टकस उपन्यासमा पाठकले दासबाहेकको लगभग सम्पूर्ण जनसंख्या परजीवीजस्तै बनेको यस्तो समाज देख्न सक्छ । जुन समाजमा राज्यबाट पाउने भत्ता, सेनामा भर्ती हुनु वा पैसाको लागि अरूको सूचना दिनुलाई श्रम गर्नुभन्दा बढी ‘सम्मानजनक’ मानिन्छ । साथै, यस सडेको व्यवस्थाको बौद्धिक समर्थन गर्ने दार्शनिक र राजनीतिज्ञहरूको खोक्रो दास मानसिकतासमेत समेटिएको छ। सिसेरोजस्ता व्यक्तिहरू ‘राज्य र कानुनले सबै मानिसको सेवा गर्छन् र कानुन न्यायपूर्ण छ’ भन्ने तर्कद्वारा अन्यायलाई समेत वैध ठहर्याउन खोज्छन्।

यद्यपि फास्टले कुलीन पात्रहरूको यौन साहसिकता र सम्बन्धका प्रसंगहरू अत्यधिक विस्तारमा प्रस्तुत गरेका छन्, जसले उपन्यासलाई केही हदसम्म कमजोर बनाएको छ।

अर्कोतर्फ,पाठकले रोमन दासहरूको अन्तर्निहित मानवीय गरिमा र आध्यात्मिक श्रेष्ठता पनि देख्न सक्छ। स्पार्टाकसका अनुयायीहरूबीचको ‘पीडितहरूको भ्रातृत्व’ मा विभिन्न देश, जाति र धर्मका मानिसहरू एकताबद्ध हुन्छन्। उनीहरू आफ्ना नेताहरूलाई प्रेम र सम्मान गर्छन्।

यहाँ नियमको सन्दर्भमा यस्तो लेखिएको छ : 

‘हामीले जे लिन्छौँ, त्यो सबैको साझा हुनेछ। कुनै मानिससँग उसको हतियार र कपडाबाहेक अरू केही व्यक्तिगत स्वामित्वमा हुने छैन…हामी कुनै महिलालाई श्रीमतीका रूपमा बाहेक लिने छैनौँ… र कुनै पुरुषले एकभन्दा बढी श्रीमती राख्ने छैन।’

यी प्रसंगहरूसँगै  स्पार्टाकसले आफ्ना अनुयायीहरूलाई सोध्छन्:

‘रोम भनेको दासहरूको रगत, पसिना र पीडाबाहेक के हो ? हामीले बनाउन नसक्ने त्यहाँ के छ?’

दासहरू भन्छन्-

‘दासको एउटै सद्गुण भनेको जीवित रहनु हो।’

फास्टले स्पार्टाकसमार्फत यस्तो समाजको कल्पना गरेका छन् – ‘जहाँ दास र मालिक हुँदैनन्, केवल मानिसहरू शान्ति र भ्रातृत्वमा सँगै बस्छन्… पर्खालविहीन शहरहरू… युद्ध हुँदैन, दुःख हुँदैन र पीडा हुँदैन।’

प्राचीन रोमको पतनशील वर्गीय समाज र अहिलेको समाजका आधारभूत अन्तर्विरोधहरूलाई उपन्यासभित्र यति कुशलतापूर्वक बुनेर प्रस्तुत गरिएको छ कि पाठक राजनीतिक उद्देश्यबारे धेरै सोच्न नपाई कथाको आकर्षणमा अघि बढ्छ। अनि यसले कतिबेला मष्तिष्कमा  सामाजिक परिवर्तनको गतिशीलताबारे गहिरो छाप बनाइदिन्छ त्यो थाहा नै हुन्दैन।  

उपन्यासले स्पार्टाकसको विद्रोह दासप्रथामा आधारित वर्गीय समाजका गहिरा र अन्तर्निहित अन्तर्विरोधहरूको परिणामका रुपमा स्थापित गरेको छ। स्पार्टाकस ग्लाडिएटरको मैदानमै मरेको भए पनि इतिहासको मूल प्रवाहमा ठूलो परिवर्तन नआउने हुन सक्थ्यो भन्ने संकेत फास्टले दिएका छन्।

फास्टले नैतिकताको वास्तविक वर्गीय आधारसमेत देखाउने प्रयास गरेका छन्।   

‘स्पार्टाकस’ पात्र सायद फास्टको मगजमा गहिरो शक्ति इतिहाससम्बन्धी ती अन्तर्दृष्टिका कारण र मार्क्सवादी दृष्टिकोणबाट आएको देखिन्छ।

यद्यपि फास्टले लेखनको उत्कृष्टता कायम नै राखेका छन्। ‘स्पार्टाकस’ उनको अत्यन्त उत्कृष्ट ढंगले लेखिएको उपन्यास हो भन्दा फरक पर्दैन।  

तर उपन्यासको एउटा महत्वपूर्ण कमजोरी के हो भने अधिकांश पात्रहरू पूर्ण रूपमा विकसित भएका छैनन्। सम्भवतः डेभिड मात्र यस्तो पात्र हो, जसलाई तुलनात्मक रूपमा पूर्ण रूपमा चित्रण गरिएको छ। कतिपय अवस्थामा त ऊ स्पार्टाकसकै समान मुख्य पात्रजस्तो देखिन्छ। पूरै कथा स्पार्टाकसकै बारेमा भए पनि पाठकले उसलाई मुख्यतः उसका साथी र शत्रुहरूको आँखाबाट चिन्छ। स्पार्टाकस स्वयंलाई प्रत्यक्ष रूपमा बुझ्ने अवसर निकै कम दिइएको छ।

यो कमजोरी कथाको दृष्टिकोणसँग पनि जोडिएको छ। कथा मुख्यतः रोमन शासक वर्गका महिला र पुरुषहरूको दृष्टिबाट अघि बढ्छ, सम्भवतः उनीहरूको पतन देखाउनका लागि। दासहरूको कथा पनि धेरै हदसम्म उनीहरूका मालिकहरूको व्यवहार र संवादको माध्यमबाट खुल्छ, दासहरूको प्रत्यक्ष अनुभव भने बीच-बीचमा मात्र आउँछ।

क्रान्तिकारी दासहरूले गरेको संघर्षलाई व्याख्या गर्न यस्तो दृष्टिकोण केही अस्वाभाविक र अनुपयुक्त लाग्छ।

तर ‘स्पार्टाकस’ को सबैभन्दा गम्भीर कमजोरी यसको अन्त्यमा देखिन्छ। अन्तिम भाग अत्यन्तै उदारवादी, आत्मविरोधी र अविश्वसनीय छ। किनकी फास्टले समग्रमा यति शक्तिशाली र यथार्थपरक उपन्यासलाई यस्तो भावुक र अविश्वसनीय अन्त्यद्वारा कमजोर बनाएका छन्।

‘स्पार्टाकस’को अन्तिम अध्याय अनावश्यक र कथाको गति तोड्ने खालको छ। त्यसमा वरिनिया स्वतन्त्रतातर्फ जाने यात्राको कथा र आल्प्स पर्वतको फेदीमा गॉल किसानहरूबीच आफ्ना सन्तानसँग बिताएको जीवनको सारांश दिइएको छ। 

यी सबै कुरा पाठकको कल्पनामा छाडिएको भए अझ प्रभावकारी हुने थियो। कमजोरी हुँदाहुँदै पनि ‘स्पार्टाकस’ एउटा अत्यन्त उत्कृष्ट उपन्यास हो र यसले व्यापक पाठकसम्म पुग्न योग्य स्थान राख्छ भन्न मिल्छ।

बडीमालिका : आस्था र प्रकृतिले सजिएको सुदूरको स्वर्ग

काठमाडौं। सुदूरपश्चिमको बाजुरा भन्नासाथ धेरैको मनमा एउटा नाम आउँछ–बडीमालिका। हिमालको काख, विशाल पाटन र बादलसँग लुकामारी खेल्ने डाँडाहरूको बीचमा बसेकी बडीमालिका बाजुराको मात्र होइन, सिंगो सुदूरपश्चिमको गौरव हो। 

यो ठाउँ हाम्रो लागि एउटा मन्दिर मात्र होइन; यो आस्था, संस्कार, इतिहास र पुस्तौँदेखि मनमा बोकेर आएको आफ्नै पहिचान हो।

बडीमालिका पुग्ने बाटो सहज छैन। उकाली-ओराली, भिरालो बाटो र लामो पैदल यात्राले शरीर थकाउँछ। तर यात्रा अगाडि बढ्दै जाँदा मनमा उत्साह थपिँदै जान्छ। बाटोमा भेटिने हरिया पाटन, रंगीचंगी फूल, चिसो हावा, खुला आकाश र टाढाटाढासम्म देखिने हिमाली दृश्यले यात्राको थकान बिर्साइदिन्छ। अन्ततः बडीमालिकाको पवित्र भूमिमा पाइला टेक्दा मनमा एउटै प्रश्न उठ्छ–यति सुन्दर ठाउँ हाम्रो आफ्नै भूमिमा रहेछ!

बडीमालिका मन्दिरको इतिहास धार्मिक आस्थासँग जोडिदैन। यसको भौतिक संरचनाको विकास पनि विभिन्न कालखण्ड हुँदै अगाडि बढेको देखिन्छ। उपलब्ध ऐतिहासिक विवरणअनुसार बडीमालिका देवीको प्रारम्भिक देउरो अर्थात् मन्दिर निर्माण बाजुराका दीपराज छत्यालले गरेको उल्लेख पाइन्छ। त्यसपछि समयक्रममा मन्दिरको स्वरूप र संरचनामा परिवर्तन हुँदै गएको देखिन्छ।

प्रकाशित ऐतिहासिक विवरणअनुसार शाके १५९१ मा जुम्लाका कल्यालवंशी राजा वीरभद्र शाहीले बाजुराको ढाडाकोटस्थित कालापानीबाट ढुंगा ल्याएर बडीमालिका मन्दिर निर्माण गराएको बताइन्छ। त्यसबेला दुर्गम पहाडी भूगोलमा ढुंगा तथा अन्य सामग्री पुर्‍याउनु आफैँमा कठिन काम थियो। यसले तत्कालीन समयमा पनि बडीमालिकाप्रतिको धार्मिक महत्व र श्रद्धा कति गहिरो थियो भन्ने देखाउँछ।

त्यसपछि शाके १६७९ मा कल्यालवंशी राजा शुरदर्शन शाहले मन्दिरको मर्मत गराउनुका साथै मूर्ति स्थापना गराएको विवरण पाइन्छ। यसबाट बडीमालिका मन्दिर समयसँगै जीर्णोद्धार, संरक्षण र धार्मिक गतिविधिका क्रममा पुनः व्यवस्थित हुँदै आएको बुझिन्छ। अर्थात् मन्दिरको इतिहास एउटै समयमा निर्माण भएर रोकिएको इतिहास नभई विभिन्न पुस्ता र कालखण्डको संरक्षणसँग जोडिएको इतिहास हो।

समय बित्दै जाँदा पुरानो संरचनामा क्षति पुग्ने र आवश्यकताअनुसार पुनर्निर्माण गर्ने क्रम पनि चल्दै आएको देखिन्छ। उपलब्ध विवरणअनुसार वि.सं. २०३६/३७ तिर बडीमालिका मन्दिरको पुनर्निर्माण गरिएको थियो। त्यसबेला स्थानीय तह, पुजारी तथा सम्बन्धित व्यक्तिहरूको पहलमा मन्दिरको संरचना जोगाउने प्रयास भएको उल्लेख पाइन्छ। यसले स्थानीय समुदायले आफ्नो धार्मिक धरोहरलाई पुस्तौँदेखि संरक्षण गर्दै आएको देखाउँछ।

पछिल्लो समयमा पुरानो मन्दिरको संरचनालाई संरक्षण गर्दै नयाँ बडीमालिका मन्दिरसमेत निर्माण गरिएको छ। नयाँ मन्दिर निर्माणमा नेपाली सेनाको विकास निर्माण निर्देशनालयको भूमिका रहेको र पुरातत्व विभागको डिजाइनअनुसार मन्दिर निर्माण गरिएको विवरण सार्वजनिक भएको छ। नयाँ संरचनाले बडीमालिकाको पुरानो धार्मिक महत्व र मौलिक पहिचानलाई कायम राख्दै मन्दिरलाई थप व्यवस्थित तथा सुरक्षित बनाउने उद्देश्य बोकेको देखिन्छ।

यसरी अहिले देखिने नयाँ मन्दिर केवल नयाँ संरचना मात्र होइन, पुस्तौँदेखि जोगिँदै आएको आस्था, इतिहास र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउने एउटा महत्वपूर्ण कडी पनि हो। पुरानो मन्दिरसँग जोडिएको इतिहास र नयाँ मन्दिरले बोकेको वर्तमानलाई हेर्दा बडीमालिकाको यात्रा विगतदेखि वर्तमानसम्म निरन्तर अगाडि बढिरहेको देखिन्छ।

मन्दिरको इतिहाससँगै यहाँको पूजा परम्परा पनि पुस्तौँदेखि निरन्तर चलिरहेको छ। पुजारी परिवारमा धेरै पुस्तादेखि बडीमालिका माताको पूजा हुँदै आएको बताइन्छ। जनैपूर्णिमाको समयमा हुने विशेष पूजा, धार्मिक मेला र टाढाटाढाबाट आउने भक्तजनको सहभागिताले यो परम्परा आज पनि जीवित रहेको देखाउँछ।

यसरी हेर्दा बडीमालिका मन्दिर कुनै एउटा समयको निर्माण मात्र होइन। यसमा पुरानो इतिहास, धार्मिक विश्वास, स्थानीय समुदायको योगदान, पुस्तौँदेखिको पूजा परम्परा र अहिलेको नयाँ संरचना सबै जोडिएका छन्। यही निरन्तरता नै बडीमालिकाको वास्तविक पहिचान र गौरव हो।

बडीमालिकाको धार्मिक इतिहास कुनै एउटा समय, एउटा पुस्ता वा एउटा मन्दिरको सीमाभित्र अट्दैन। पुस्तौँदेखि मानिसको मनमा बाँचिरहेको आस्था र विश्वासले यसको इतिहासलाई असिमित बनाएको छ। नेपाल पर्यटन बोर्डका अनुसार बडीमालिकाको धार्मिक सम्बन्ध स्कन्दपुराण र स्वस्थानी व्रतकथासँग जोडिएको पाइन्छ। प्रचलित धार्मिक मान्यताअनुसार सतीदेवीको शरीर बोकेर महादेव पृथ्वीमा विचरण गर्ने क्रममा सतीदेवीको काँधको अंश यस क्षेत्रमा पतन भएको विश्वास गरिन्छ। यही धार्मिक मान्यता  का कारण बडीमालिका शक्तिपीठका रूपमा श्रद्धापूर्वक पूजिँदै आएको छ।

सतीदेवीसँग जोडिएको यो प्रसंग आधुनिक इतिहास वा पुरातात्त्विक प्रमाणले पुष्टि गरेको घटना नभई धार्मिक ग्रन्थ, पौराणिक कथा र जनविश्वासमा आधारित मान्यता हो। तर कुनै विश्वासको शक्ति त्यसलाई कागजमा कति पटक लेखियो भन्नेमा मात्र हुँदैन; त्यो विश्वास पुस्तौँसम्म मानिसको जीवन र संस्कारमा कसरी बाँचेको छ भन्ने कुरामा निर्भर हुन्छ। बडीमालिकाको आस्था पनि त्यही पुस्तौँ पुरानो विश्वासको निरन्तरता हो।

बाजुराका पुर्खाहरूले कठिन पहाड, उकाली–ओराली र दुर्गम बाटो पार गर्दै देवीको दर्शन गर्ने परम्परा बसाले। समय फेरियो, यात्रा गर्ने माध्यम फेरिए, मन्दिरको संरचना फेरियो, तर बडीमालिका माताप्रतिको श्रद्धा फेरिएको छैन ।  अहिले जनैपूर्णिमाका बेला टाढाटाढाबाट भक्तजनहरू यहाँ पुग्छन्–कसैले भाकल बोकेर, कसैले मनोकामना बोकेर त कसैले आफ्ना पुर्खाले धानेको परम्परालाई निरन्तरता दिन।

यही निरन्तर आस्थाले बडीमालिकालाई एउटा मन्दिरभन्दा धेरै माथि उठाएको छ। यहाँ पुराणसँग जोडिएको धार्मिक कथा छ, पुस्तौँदेखि चलिआएको पूजा परम्परा छ।  स्थानीय जनविश्वास छ र आफ्नो ठाउँप्रतिको गहिरो अपनत्व छ। 

यहि कारण बडीमालिकाको धार्मिक इतिहास आजसम्म पनि जीवित छ। हरेक वर्ष हजारौँ पाइला र असंख्य श्रद्धालुका मनमार्फत यसको इतिहासलाई अजर बनाएको छ। 

बडीमालिका त्यही आस्थाको नाम हो, जहाँ इतिहास खोज्दा पुस्तौँदेखि बाँचेको विश्वास भेटिन्छ।

बडीमालिकाको प्रकृति आफैँमा एउटा खुला क्यानभासजस्तो लाग्छ। चारैतिर फैलिएका विशाल पाटन, हरियालीले ढाकिएका डाँडाकाँडा, ठाउँ-ठाउँमा फुलेका रंगीचंगी फूल, चिसो हावाको स्पर्श र आकाशसँग नजिक देखिने हिमाली भू–दृश्यले बडीमालिकालाई अनुपम बनाएका छन्। यहाँको सुन्दरता हेर्न कुनै कृत्रिम सजावट आवश्यक पर्दैन; प्रकृतिले नै आफ्नै ढंगले यस ठाउँलाई सजाएको छ।

बिहानको घाम पाटनमा पर्दा हरियाली अझ उज्यालो देखिन्छ। कहिले बादलले डाँडाकाँडालाई छोप्छ, कहिले हावाको झोक्कासँगै बादल हटेर टाढासम्म फैलिएको प्राकृतिक दृश्य खुल्छ।

एकै ठाउँमा उभिएर हेर्दाहेर्दै बदलिरहने मौसम र दृश्यले बडीमालिकाको सौन्दर्यलाई हरेक क्षण नयाँ बनाइरहेको हुन्छ।

विशाल पाटनमा फुलेका फूलहरू, चिसो मौसम, स्वच्छ हावा र चारैतिरको शान्त वातावरणले मनलाई छुट्टै आनन्द दिन्छ। कतै हरियालीको फराकिलो मैदान, कतै ढुंगामाटोले बनेका प्राकृतिक आकृति, कतै बादलभित्र हराएका डाँडा र कतै खुला आकाशमुनि देखिने हिमाली दृश्य-बडीमालिकाको हरेक कुनामा प्रकृतिको आफ्नै कथा देखिन्छ।

यहाँको सबैभन्दा मनमोहक पक्ष भनेको यसको मौनता हो। हावाको सुस्केरा, चराचुरुङ्गीको आवाज र पाटनमाथि फैलिएको शान्त वातावरणले मनलाई एकछिन रोकिएर प्रकृतिलाई सुन्न बाध्य बनाउँछ।

केही क्षण त्यही वातावरणमा बस्दा वरिपरिका दृश्य र प्रकृतिको अलौकिकता महसुस गर्न सकिन्छ।

बडीमालिकाको सौन्दर्य एउटै दृश्यमा सीमित छैन। बिहानको उज्यालोमा यसको रूप फरक देखिन्छ, बादल लाग्दा अर्कै, घाम अस्ताउँदै गर्दा अर्कै। मौसम फेरिएसँगै पाटनको रङ फेरिन्छ, फूलको रूप फेरिन्छ र डाँडाकाँडाको दृश्य पनि नयाँजस्तै लाग्छ। यही परिवर्तनशीलता बडीमालिकाको प्रकृतिको सबैभन्दा सुन्दर विशेषता हो।

बडीमालिका हेर्दा यस्तो लाग्छ- प्रकृतिले यहाँ केही पनि अधुरो छोडेकी छैन। विशाल आकाश, हरिया पाटन, फूलको सुगन्ध, चिसो हावा, बादलले छोएका डाँडा र टाढासम्म फैलिएको हिमाली दृश्य सबै मिलेर एउटा यस्तो संसार बनाएका छन्, जहाँ आँखालाई सुन्दरता र मनलाई शान्ति एकैसाथ मिल्छ।

बडीमालिका प्रकृतिले सजाएको एउटा ठाउँ मात्र होइन, प्रकृतिले आफ्नै हातले कोरेको यस्तो जीवित चित्र हो, जसलाई जति हेरे पनि मन अघाउँदैन।

बडीमालिकाको चर्चा गर्दा यसको सुन्दरता र धार्मिक महत्वको वर्णन मात्र गरेर पुग्दैन। बडीमालिका जति हाम्रो गौरव हो, त्यति नै हाम्रो जिम्मेवारी पनि हो।

यहाँको प्रत्येक पाटन, प्रत्येक पदचिह्न, मन्दिरको प्रत्येक ढुंगा र पुस्तौँदेखि चलिआएको प्रत्येक परम्पराले आफ्नो छुट्टै कथा बोकेको छ। त्यसैले बडीमालिकालाई केवल घुम्ने ठाउँका रूपमा होइन, भावी पुस्ताले पनि उस्तै श्रद्धा र सुन्दरताका साथ देख्न पाउने एउटा जीवित सम्पदाका रूपमा हेर्न आवश्यक छ।

बडीमालिकाको विकास हुनु जरुरी छ, तर विकासको नाममा यसको मौलिकता हराउनु हुँदैन। बाटो चाहिन्छ, सुविधा चाहिन्छ,सञ्चार चाहिन्छ, सुरक्षित पदमार्ग र सरसफाइ चाहिन्छ; तर यी सबै थपिँदै जाँदा बडीमालिकाको प्राकृतिक मौनता, पवित्रता र आफ्नोपन भने जोगिइरहनुपर्छ। प्रकृतिले आफैँ सजाएको ठाउँलाई विकासका नाममा त्यही प्रकृतिबाट टाढा बनाउनु हुँदैन।

बडीमालिकाको भविष्य केवल सरकार वा कुनै एउटा संस्थाको जिम्मेवारी होइन। यहाँ पुग्ने हरेक श्रद्धालु, पर्यटक, स्थानीय बासिन्दा र सम्बन्धित निकायको साझा जिम्मेवारी हो। एउटा फोहोर नफाल्नु, एउटा फूल अनावश्यक नटिप्नु, धार्मिक तथा सांस्कृतिक परम्पराको सम्मान गर्नु, प्राकृतिक स्रोतको संरक्षण गर्नु–यी साना देखिने कामहरूले नै ठूलो सम्पदा जोगाउँछन्।

अझ महत्वपूर्ण कुरा, बडीमालिकाको विकाससँगै यसको कथा पनि जोगिनुपर्छ। नयाँ पुस्ताले बडीमालिका कहाँ छ भनेर मात्र होइन, यसको धार्मिक विश्वास के हो, यसको इतिहास कसरी अगाडि बढ्यो, यहाँका परम्परा किन महत्वपूर्ण छन् र यस भूमिसँग बाजुरेली जनजीवनको सम्बन्ध कस्तो छ भन्ने पनि जान्नुपर्छ। मन्दिरको संरचना जोगाउनु जति आवश्यक छ, त्यससँग जोडिएको स्मृति र संस्कार जोगाउनु पनि त्यति नै आवश्यक छ।

यदि बडीमालिकाको प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, ऐतिहासिक पहिचान र स्थानीय संस्कृतिलाई एउटै धागोमा बाँधेर संरक्षणसहित विकास गर्न सकियो भने यो केवल पर्यटकीय गन्तव्य बन्ने छैन; सुदूरपश्चिमको पहिचानलाई देश–विदेशसम्म चिनाउने एउटा जीवन्त प्रतीक बन्न सक्छ। यहाँ आउने मानिसले दृश्य मात्र नलिई, एउटा अनुभूति र एउटा सम्झना लिएर फर्कने वातावरण बनाउन सकिन्छ।

बडीमालिका हाम्रो लागि नक्सामा रहेको एउटा ठाउँ मात्र होइन। यो पुर्खाको विश्वास हो, वर्तमानको गौरव हो र भावी पुस्ताका लागि छोड्नुपर्ने अमूल्य जिम्मेवारी हो। यसको सुन्दरता हामीले देखेर मात्र पुग्दैन, त्यसलाई जोगाएर अर्को पुस्ताको आँखाले पनि देख्न पाउने बनाउनुपर्छ।

अन्ततः बडीमालिकाको वास्तविक समृद्धि त्यतिबेला हुनेछ, जब यहाँ आउने मानिसको संख्या बढ्नुका साथै बडीमालिकाको प्रकृति, आस्था र मौलिकता पनि अझ सुरक्षित हुँदै जानेछ। 

यही सोचले बडीमालिकालाई आजको आकर्षण मात्र होइन, भोलिको पुस्तासम्म गर्वका साथ हस्तान्तरण गर्न सकिने सुदूरको अमूल्य सम्पदा बनाउनेछ।

बडीमालिका हाम्रो गौरव हो–तर गौरव त्यतिबेला मात्र सार्थक हुन्छ,जब हामी त्यसलाई आफ्नो भनेर गर्व मात्र गर्दैनौँ, आफ्नो भनेर संरक्षण पनि गर्छौं।

चन्द्रमाको दक्षिणी ध्रुवमा बरफ खोज्दै चीनको ‘छाङअ-७’

एजेन्सी। चीनले चन्द्रमाको दक्षिणी ध्रुवमा रहेका स्थायी छायाँयुक्त खाडलमा जमेको पानी अर्थात् बरफको खोजी गर्न मानवरहित रोबोटिक अन्तरिक्ष अभियान ‘छाङअ–७’ प्रक्षेपणको तयारी गरेको छ। अभियान अगस्ट २४ देखि ३१ सम्मको अवधिमा प्रक्षेपण गर्ने तयारी छ।

चीनको चन्द्र अन्वेषण कार्यक्रमअन्तर्गत यो अहिलेसम्मकै सबैभन्दा महत्वाकांक्षी अभियानमध्ये एक हो। अभियानमा अर्बिटर, ल्यान्डर, रोभर र हपर गरी चार प्रमुख अन्तरिक्षयान रहनेछन्।

अर्बिटरले चन्द्रमाको कक्षबाट सतहको नक्साङ्कन र तस्बिर खिच्नेछ। ल्यान्डर चन्द्रमाको दक्षिणी ध्रुवनजिक रहेको स्याकलटन क्रेटरको किनारमा अवतरण गर्ने लक्ष्य राखिएको छ। करिब २१ किलोमिटर चौडा उक्त खाडलको केही भागमा सूर्यको प्रकाश अत्यन्त कम पुग्छ।

रोभरले अवतरणस्थल आसपासको माटो, चट्टान र वातावरणको अध्ययन गर्नेछ। हपर भने चन्द्रमाको सतहबाट छोटो दूरीसम्म उफ्रिएर पुनः अवतरण गर्न सक्ने गरी डिजाइन गरिएको छ। यसको मुख्य उद्देश्य स्याकलटन क्रेटरका स्थायी छायाँयुक्त भागको अध्ययन गर्नु हो।

चन्द्रमामा बरफ कसरी भेटियो ?

वैज्ञानिकहरूले लामो समयदेखि चन्द्रमामा पानी हुन सक्ने अनुमान गर्दै आएका थिए। तर अपोलो अभियानबाट ल्याइएका प्रारम्भिक नमुना भने लगभग सुख्खा देखिएका थिए।

सन् २००९ मा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको स्थायी छायाँमा रहेको एउटा खाडलमा रकेटको हिस्सा ठोक्काएर त्यहाँबाट उडेको धुलोको विश्लेषण गरेको थियो। त्यस क्रममा बरफका रूपमा पानी रहेको प्रत्यक्ष प्रमाण प्राप्त भएको थियो।

त्यसपछि भएका विभिन्न अध्ययनले चन्द्रमाको सतहमा रहेका खनिजका कणमा पानीका अणु रहेको र ध्रुवीय क्षेत्रमा स्थायी छायाँमा रहेका खाडलमा बरफको रूपमा थप पानी सञ्चित हुन सक्ने देखाएका छन्।

यस्ता क्षेत्रमा लाखौँ वा अर्बौँ वर्षदेखि सूर्यको प्रकाश नपुगेको हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ।

चन्द्रमाको पानीको अध्ययन वैज्ञानिक अनुसन्धानका दृष्टिले मात्र नभई भविष्यका अन्तरिक्ष अभियानका लागि पनि महत्वपूर्ण मानिन्छ।

चन्द्रमामा पर्याप्त पानी उपलब्ध भएको प्रमाणित भएमा भविष्यमा त्यहाँ जाने मानवसहितका अभियानका लागि पिउने पानीको स्रोत बन्न सक्छ। पानीबाट हाइड्रोजन र अक्सिजन छुट्याएर रकेट इन्धन तथा श्वासप्रश्वासका लागि आवश्यक अक्सिजनसमेत उत्पादन गर्न सकिने सम्भावना छ।

यसले भविष्यमा चन्द्रमालाई मंगल ग्रहलगायत अन्य गन्तव्यतर्फ जाने अन्तरिक्ष अभियानको आधार केन्द्रका रूपमा प्रयोग गर्ने सम्भावनासमेत बढाउन सक्छ।

त्यस्तै, ध्रुवीय क्षेत्रमा सुरक्षित रहेको प्राचीन बरफले चन्द्रमामा पानी कसरी आयो भन्ने मात्र होइन, पृथ्वी–चन्द्र प्रणालीमा पानीको इतिहास बुझ्न पनि महत्वपूर्ण जानकारी दिन सक्ने वैज्ञानिकहरूको विश्वास छ।

चन्द्रमाको दक्षिणी ध्रुवमा पानी खोज्ने प्रयास चीनको मात्र होइन। सन् २०२३ मा रुसले ‘लुना–२५’ अभियान प्रक्षेपण गरेको थियो। दक्षिणी ध्रुवमा अवतरण गरेर बरफको खोजी गर्ने लक्ष्य राखिएको उक्त अभियान चन्द्रमामा दुर्घटनाग्रस्त भएपछि सफल हुन सकेन।

त्यही वर्ष भारतको ‘चन्द्रयान-३’ भने सफलतापूर्वक चन्द्रमामा अवतरण भएको थियो। दक्षिणी ध्रुवनजिकै गरिएको त्यसको अध्ययनले चन्द्रमाको सतहको तापक्रम तथा पानीसँग सम्बन्धित अनुसन्धानमा महत्वपूर्ण तथ्य उपलब्ध गराएको थियो।

चन्द्रमाको दक्षिणी ध्रुवमा असंख्य खाडल, गहिरा खोंच र अत्यन्त जटिल भू-भाग छन्। कतिपय क्षेत्रमा सूर्यको प्रकाश नै पुग्दैन भने कतिपय स्थानमा सञ्चार र ऊर्जा व्यवस्थापनसमेत चुनौतीपूर्ण हुन्छ।

यही कारण विगतका अधिकांश चन्द्र अभियान भूमध्यरेखानजिकका तुलनात्मक रूपमा सहज क्षेत्रमा केन्द्रित थिए। दक्षिणी ध्रुवमा सफल अवतरण र त्यहाँका स्थायी छायाँयुक्त क्षेत्रमा अनुसन्धान गर्नु प्राविधिक रूपमा निकै चुनौतीपूर्ण मानिन्छ।

‘छाङअ-७’ को विशेषता

‘छाङअ-७’ को विशेषता भनेको चन्द्रमाको गहिरो, अँध्यारा खाडलमा प्रत्यक्ष पुगेर पानीको बरफ खोज्ने प्रयास हो। छ खुट्टे हपरले आवश्यकताअनुसार सतहबाट उफ्रिँदै खाडलभित्र प्रवेश गर्ने र पुनः बाहिर निस्कने गरी काम गर्नेछ।

अभियानले चन्द्रमामा बरफ कहाँ छ, कति मात्रामा छ, कति गहिराइमा छ र भविष्यमा त्यसलाई निकालेर प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा थप जानकारी जुटाउने लक्ष्य राखेको छ।

चन्द्रमाको पानीमा कुनै देशले स्वामित्व दाबी गर्न पाउने विषय भने अझै अन्तर्राष्ट्रिय कानुनको जटिल प्रश्न हो।

सन् १९६७ को बाह्य अन्तरिक्ष सन्धिले कुनै देशलाई चन्द्रमालाई आफ्नो भूभागका रूपमा दाबी गर्न रोक्छ। तर अन्तरिक्ष स्रोतको व्यावसायिक उपयोगका विषयमा भने विभिन्न कानुनी व्याख्या र बहस जारी छन्।

गरिमा हत्या प्रकरणमा न्याय माग्दै देशभर प्रदर्शन

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा देशका विभिन्न सहरमा प्रदर्शन चर्किएको छ । बालिकाको हत्यामा संलग्नलाई कडा कानुनी कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग गर्दै शनिबार काठमाडौं, बुटवल र पोखरालगायतका स्थानमा प्रदर्शन गरिएको हो ।

गरिमाको न्यायका लागि स्थानीयस्तरमा भइरहेको आन्दोलनले समेत निरन्तरता पाएको छ । वीरगञ्ज-पथलैया सडकखण्डको सिमरामा स्थानीयले सडकमा टेन्ट राखेर प्रदर्शन गरिरहेका छन् । गत बुधबार बिहानदेखि बन्द रहेको उक्त सडकखण्ड शनिबार चौथो दिन पनि ठप्प रहेको छ । बालिकाको हत्यापछि आक्रोशित स्थानीयले दोषीलाई कडा कारबाहीको माग गर्दै सडक अवरुद्ध गरेर आन्दोलन गर्दै आएका हुन् ।

गरिमा चौधरीको न्यायका लागि काठमाडौंमा पनि नागरिक, युवा, विद्यार्थी तथा अधिकारकर्मीहरू सडकमा उत्रिएका छन् । स्वतन्त्र आमा नेपाललगायत विभिन्न संघसंस्थाको अगुवाइमा शनिबार काठमाडौंको शान्तिबाटिकामा विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले बलात्कार र हत्याजस्ता जघन्य अपराधविरुद्ध कडा कानुन कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले ‘बलात्कारी र हत्यारालाई कडा कानुनी कारबाही गर’, ‘पीडितलाई न्याय दे’ लगायतका नारा लगाएका थिए । उनीहरूले हातमा विभिन्न सन्देश लेखिएका प्लेकार्ड बोकेर दोषीलाई हदैसम्मको सजाय दिन सरकारसँग माग गरे ।

काठमाडौंको प्रदर्शनमा ‘बलात्कारीलाई फाँसी दे’, ‘छोरी जन्मनु अपराध हो?’ लगायतका नारासहितका प्लेकार्डसमेत प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीहरूले राज्यले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न नसक्दा यस्ता घटना दोहोरिरहेको भन्दै दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताएका छन् ।

यस्तै, बुटवलमा पनि शनिबार बिहान सयौं महिलाले गरिमाको न्याय माग्दै प्रदर्शन गरेका छन् । बिहान ११ बजे ट्राफिक चोकबाट सुरु भएको प्रदर्शन बुटवल उपमहानगरपालिका कार्यालय, इलाका प्रहरी कार्यालय हुँदै तुलसीपुर उच्च अदालत बुटवल इजलाससम्म पुगेको थियो । प्रदर्शनकारीले विभिन्न स्थानमा केही समय धर्नासमेत दिएका थिए ।

कालो ब्यानर तथा प्लेकार्डसहित सडकमा निस्किएका महिलाहरूले बालिकामाथि भएको बलात्कार र हत्याका दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका थिए । उनीहरूले यस्ता जघन्य अपराधमा संलग्न व्यक्तिमाथि कडा सजाय हुन नसक्दा अपराधीको मनोबल बढेको भन्दै कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।

पोखरामा पनि गरिमाको न्यायका लागि युवा तथा युवतीहरूले प्रदर्शन गरेका छन् । शनिबार मानवअधिकार चोकमा भेला भएका प्रदर्शनकारीहरूले विभिन्न नारासहितका प्लेकार्ड बोकेर घटनाको विरोध गरेका थिए । उनीहरूले बालिका तथा महिलाको सुरक्षाका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन् ।

यसैबीच, गरिमाको न्यायका लागि सिमरामा भइरहेको सडक आन्दोलनले यातायातसमेत प्रभावित भएको छ । बिहीबार राति स्थानीय प्रशासन, केही राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा पाँचबुँदे सहमति भए पनि मृतक बालिकाका परिवारले उक्त सहमति अमान्य रहेको बताएका छन् । त्यसपछि स्थानीयको सडक आन्दोलनले निरन्तरता पाएको हो ।

सुरुवातमा स्थानीयले इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुखको लापरबाहीका कारण घटना भएको आरोप लगाउँदै उनको सरुवाको माग गरेका थिए । प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीको सरुवा भएपछि प्रशासन र स्थानीयबीच पाँचबुँदे सहमति भएको थियो । तर, पीडित परिवारले सहमतिप्रति असहमति जनाएपछि आन्दोलन रोकिएको छैन ।

प्रहरीका अनुसार गरिमा साउन ३१ गते बिहान करिब साढे ८ बजे घरबाट बेपत्ता भएकी थिइन् । स्थानीय सरस्वती आधारभूत विद्यालयमा प्ले ग्रुपमा अध्ययनरत गरिमा हराएपछि परिवार र स्थानीयले खोजी गरेका थिए । खोजीका क्रममा मंगलबार साँझ घरदेखि करिब २०० मिटरको दूरीमा रहेको एउटा खाली घरमा उनको शव फेला परेको थियो ।

गाउँको बीचमा रहेको उक्त खाली घरबाट दुर्गन्ध आउन थालेपछि प्रहरीले खोजी गर्दा कपडामा पोको पारिएको अवस्थामा बालिकाको शव फेला पारेको बताइएको छ ।

घटनापछि बालिकाको परिवार शोकमा डुबेको छ भने देशका विभिन्न ठाउँमा दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरूले गरिमा चौधरीको घटनालाई न्यायिक प्रक्रियामार्फत निष्पक्ष रूपमा अनुसन्धान गरी दोषीमाथि कडा सजाय सुनिश्चित गर्नुपर्ने माग गरेका छन् । 

‘एभेन्जर्सः इन्फिनिटी वार’ मा के छ?

काठमाडौं। ‘एभेन्जर्सः इन्फिनिटी वार’ सामान्य शैलीमा बनेको चलचित्र होइन। यो करिब एक दशकदेखि निर्माण हुँदै आएको मार्भलको विशाल कथालाई एउटै बिन्दुमा जोड्ने प्रयास हो। त्यसैले यसलाई केवल एउटा चलचित्रका रूपमा हेर्नुभन्दा लामो समयदेखि अघि बढिरहेको एउटा ठूलो सिनेम्याटिक यात्राको महत्वपूर्ण अध्यायका रूपमा बुझ्न सकिन्छ।

चलचित्रको सबैभन्दा ठूलो चुनौती नै यसमा रहेका असंख्य पात्र र तिनका कथालाई एउटै कथानकमा समेट्नु हो । यही कुरा यसको सबैभन्दा ठूलो शक्ति र कमजोरी दुवै बनेको छ। चलचित्रमा धेरै पात्र छन्, धेरै कथा छन् र घटनाहरू तीव्र गतिमा अघि बढ्छन्। तर निर्देशक जो र एन्थोनी रुसोले यी सबै पक्षलाई यसरी जोड्छन् कि कथा अत्यधिक भीडभाड भएको महसुस भए पनि यसको संरचना पूर्ण रूपमा भत्किँदैन।

यस चलचित्रले परम्परागत रूपमा दर्शकलाई पात्रको परिचय दिने वा घटनाको विस्तृत पृष्ठभूमि बुझाउने समय लिँदैन । त्यसको कारण स्पष्ट छ-यसलाई अघिल्ला मार्भल चलचित्रसँग परिचित दर्शकलाई ध्यानमा राखेर बनाइएको छ । पात्रहरू को हुन्, उनीहरूको सम्बन्ध कस्तो छ र उनीहरूले विगतमा के भोगेका छन् भन्ने कुरा दर्शकले पहिले नै थाहा पाएको अपेक्षा गरिएको छ।

त्यसैले चलचित्रको भावनात्मक प्रभाव पनि बलियो छ। हास्य, रोमाञ्च, तनाव र पीडादायी क्षणहरू लगातार आउँछन्। एकपछि अर्को अप्रत्याशित घटनाले दर्शकलाई लामो समयसम्म भावनात्मक रूपमा बाँधेर राख्छ।

मार्भलले सन् २००८ मा ‘आइरन म्यान’बाट आफ्नो साझा चलचित्र ब्रह्माण्डको सुरुवात गरेको थियो। टोनी स्टार्कको चरित्रले त्यसपछि मार्भलको सम्पूर्ण यात्रालाई जोड्ने महत्वपूर्ण भूमिका खेल्यो। सुरुवातमा स्वार्थी र गैरजिम्मेवार देखिने टोनी समयसँगै जिम्मेवार नेता र मार्गदर्शकमा परिवर्तन हुँदै जान्छन् ।

‘एभेन्जर्सः इन्फिनिटी वार’मा उनको विगतका घटनाको प्रभाव अझ स्पष्ट देखिन्छ । थानोसको सम्भावित खतरा र पृथ्वीमाथि आउन सक्ने विनाशको डर टोनीको मनमा लामो समयदेखि रहेको देखाइन्छ ।

थोरको चरित्र पनि यस चलचित्रमा निकै प्रभावशाली देखिन्छ । विशेषगरी ‘थोरः र्‍याग्नारोक’पछि उनको चरित्रमा आएको परिवर्तन यहाँ अझ बलियो रूपमा प्रस्तुत गरिएको छ । थोर एकैपटक शक्तिशाली, भावुक र हास्यपूर्ण देखिन्छन् । उनको संवाद र एक्सनले चलचित्रका धेरै महत्वपूर्ण क्षणलाई प्रभावशाली बनाएको छ ।

क्याप्टेन अमेरिकाको प्रवेश पनि दर्शकका लागि विशेष क्षण बन्न पुग्छ । स्टिभ रोजर्सको चरित्र यस चलचित्रमा अपेक्षाकृत कम देखिए पनि उनको उपस्थिति आफैंमा महत्वपूर्ण छ । विगतका चलचित्रमा स्थापित उनको व्यक्तित्व र संघर्षले कथामा छुट्टै भावनात्मक तह थप्छ ।

‘गार्डियन्स अफ द ग्यालेक्सी’का पात्रहरू पनि थानोससँग जोडिएको कथामा स्वाभाविक रूपमा प्रवेश गर्छन् । पिटर क्विल, ड्र्याक्स, गामोरा, नेबुला लगायतका पात्रको उपस्थितिले चलचित्रमा हास्य र भावनात्मक द्वन्द्व दुवै थप्छ ।

टोनी स्टार्क, थोर र पिटर क्विलबीचको भेट विशेष रमाइलो पक्ष हो । उनीहरूको फरक स्वभाव, नेतृत्व शैली र अहंकारले कथामा हास्यपूर्ण अवस्था सिर्जना गर्छ ।

त्यस्तै, ‘ब्ल्याक प्यान्थर’मार्फत मार्भलको संसारमा आएको वाकान्डाले चलचित्रको अन्तिम ठूलो युद्धका लागि महत्वपूर्ण स्थान प्रदान गर्छ । टी’चाला, शुरी, ओकोये र एम’बाकुलगायत पात्रले अन्तिम चरणमा महत्वपूर्ण भूमिका खेल्छन् ।

चलचित्रको सबैभन्दा महत्वपूर्ण पात्र भने थानोस हुन् । जोस ब्रोलिनले आवाज र अभिनयमार्फत थानोसलाई केवल शक्तिशाली खलनायकका रूपमा नभई आफ्नै उद्देश्य र विश्वास भएको पात्रका रूपमा प्रस्तुत गरेका छन् ।

थानोसको लक्ष्य ब्रह्माण्डको आधा जीवित प्राणीलाई समाप्त गर्नु हो । त्यसका लागि उनलाई इन्फिनिटी स्टोनहरू आवश्यक पर्छन् । चलचित्र अघि बढ्दै जाँदा थानोसको शक्ति, सोच र उद्देश्य क्रमशः स्पष्ट हुँदै जान्छ ।

विशेष कुरा के हो भने चलचित्रले थानोसलाई कथाको बाहिरी खलनायकका रूपमा मात्र राख्दैन । धेरै घटनाको केन्द्रमा उनै छन् । त्यसैले ‘इन्फिनिटी वार’लाई थानोसको कथा पनि भन्न सकिन्छ ।

चलचित्रको अन्त्य सबैभन्दा चर्चित पक्षमध्ये एक हो- चलचित्रको अन्त्य। थानोसले आफ्नो उद्देश्य पूरा गरेपछि ठूलो संख्यामा पात्रहरू अचानक अस्तित्वबाटै हराउँछन् । यसले दर्शकलाई स्तब्ध बनाउने गरी कथा समाप्त हुन्छ ।

यहाँ मृत्यु र अस्तित्व समाप्त हुनुबीचको फरक महत्वपूर्ण छ । केही पात्र चलचित्रकै क्रममा मारिन्छन् भने केही पात्र थानोसको शक्तिका कारण अस्तित्वबाट हराउँछन् । मार्भलको आगामी कथालाई हेर्दा अस्तित्वबाट हराएका पात्रमध्ये धेरै पुनः फर्कने सम्भावना रहेको संकेत चलचित्रले छोडेको छ ।

तर, चलचित्रको भावनात्मक प्रभाव भने त्यसबाट कम हुँदैन । लामो समयदेखि यी पात्रसँग जोडिएका दर्शकका लागि उनीहरूको अचानक अन्त्य अत्यन्तै पीडादायी क्षण बन्न पुग्छ ।

‘एभेन्जर्सः इन्फिनिटी वार’ एउटा सामान्य सुपरहिरो चलचित्रभन्दा धेरै ठूलो परियोजना हो । यसले एक दशकसम्म निर्माण गरिएको मार्भलको कथालाई एउटै विशाल घटनामा जोड्छ । असंख्य पात्र, तीव्र गतिमा अघि बढ्ने कथा, हास्य, एक्सन, भावनात्मक क्षण र अप्रत्याशित अन्त्यका कारण यो चलचित्र मार्भलको सबैभन्दा महत्वाकांक्षी परियोजनामध्ये एक बनेको छ ।

‘स्ट्रेट अफ होर्मुज’ अमेरिकी क्षेत्रका रुपमा हेर्छौँ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ अर्थात् होर्मुज जलडमरूमध्यलाई आफूले अमेरिकी क्षेत्रका रूपमा हेर्ने गरेको बताएका छन् । साउथ क्यारोलाइनामा आयोजित चुनावी ¥यालीका क्रममा ट्रम्पले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

विश्वकै महत्वपूर्ण समुद्री मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्यलाई लिएर ट्रम्पको पछिल्लो अभिव्यक्तिले अमेरिका र इरानबीचको तनाव थप चर्किन सक्ने संकेत गरेको छ । होर्मुज जलडमरूमध्य इरान र ओमानबीच अवस्थित छ र विश्व बजारमा ऊर्जा आपूर्तिका लागि यसको रणनीतिक महत्व निकै ठूलो मानिन्छ ।

¥यालीका क्रममा ट्रम्पले इरानसँग सम्झौता गर्न अमेरिका इच्छुक रहेको संकेत गरे पनि तेहरान भने आफूले चाहेको प्रकारको सम्झौताका लागि तयार नरहेको बताए । उनका अनुसार अमेरिकाले इरानसँग कुनै समझदारी कायम गर्न चाहिरहेको भए पनि इरानको वर्तमान अडानका कारण त्यस्तो सम्झौता सहज देखिएको छैन ।

ट्रम्पले इरानलाई परमाणु हतियार हासिल गर्न कुनै पनि हालतमा दिन नहुने अमेरिकी नीतिलाई समेत दोहोर्‍याए । इरानले परमाणु हतियार प्राप्त गरे त्यसको परिणाम अत्यन्तै खराब हुने चेतावनी दिँदै उनले यस विषयमा अमेरिका गम्भीर रहेको बताए ।

अमेरिका र इरानबीच लामो समयदेखि परमाणु कार्यक्रम, क्षेत्रीय सुरक्षा तथा प्रतिबन्धका विषयमा विवाद रहँदै आएको छ । पछिल्लो समय अमेरिकी प्रशासनले इरानमाथि आर्थिक तथा राजनीतिक दबाब बढाउँदै आएको छ भने इरानले पनि आफ्नो राष्ट्रिय हित र सुरक्षा नीतिबाट पछि नहट्ने संकेत गर्दै आएको छ ।

यसैबीच, अमेरिकाले इरानमाथि थप आर्थिक प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । अमेरिकी अधिकारीहरूका अनुसार सोमबार इरानविरुद्ध नयाँ प्रतिबन्धसम्बन्धी घोषणा गर्ने तयारी गरिएको छ । प्रस्तावित प्रतिबन्धको प्रभाव इरानका प्रमुख व्यापारिक साझेदारमाथि समेत पर्न सक्ने बताइएको छ ।

विशेषगरी चीनसँग इरानको ठूलो व्यापारिक सम्बन्ध रहेकाले नयाँ अमेरिकी प्रतिबन्धले चिनियाँ कम्पनी तथा इरानसँग कारोबार गर्ने अन्य संस्थालाई समेत असर गर्न सक्ने सम्भावना देखिएको छ । यसले अमेरिका-चीन सम्बन्धमा समेत थप जटिलता सिर्जना गर्न सक्ने विश्लेषण हुन थालेको छ ।

अमेरिकाले एकातर्फ इरानमाथि आर्थिक दबाब बढाइरहेको छ भने अर्कोतर्फ मध्यपूर्वमा आफ्नो सैन्य उपस्थितिलाई पनि निरन्तरता दिएको छ । यस्तो अवस्थामा होर्मुज जलडमरूमध्यलाई लिएर ट्रम्पको पछिल्लो अभिव्यक्तिलाई रणनीतिक रूपमा अर्थपूर्ण मानिएको छ ।

होर्मुज जलडमरूमध्य विश्वको ऊर्जा व्यापारका लागि अत्यन्त संवेदनशील मार्ग हो । यस क्षेत्रमा कुनै पनि प्रकारको सैन्य तनाव वा आवागमनमा अवरोध उत्पन्न भए त्यसको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय बजारमा पर्न सक्छ । विशेषगरी तेल तथा ग्यासको आपूर्तिमा समस्या आए विश्व बजारमा ऊर्जा मूल्य बढ्ने जोखिम रहन्छ ।

ट्रम्पले इरानलाई परमाणु हतियार विकास गर्न नदिने प्रतिबद्धता दोहोर्‍याएसँगै अमेरिका र इरानबीच आगामी दिनमा कूटनीतिक वार्ता अघि बढ्छ वा तनाव थप बढ्छ भन्ने चासोसमेत बढेको छ । अमेरिकाले सम्झौताको सम्भावना खुला राखेको संकेत गरे पनि इरानले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने विषयले आगामी घटनाक्रम निर्धारण गर्नेछ ।

यसअघि पनि ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई लिएर कडा धारणा राख्दै आएका छन् । पछिल्लो अभिव्यक्ति र थप प्रतिबन्धको तयारीले अमेरिकी प्रशासन इरानमाथि आर्थिक तथा रणनीतिक दबाब बढाउने दिशामा अघि बढिरहेको संकेत गरेको छ ।

अब अमेरिका र इरानबीचको सम्बन्ध कूटनीतिक संवादतर्फ जान्छ वा थप टकरावको बाटोमा पुग्छ भन्ने विषय महत्वपूर्ण बनेको छ । विशेषगरी होर्मुज जलडमरूमध्यमा देखिने कुनै पनि तनावले अमेरिका-इरान सम्बन्धभन्दा बाहिर गएर विश्व ऊर्जा बजार र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा समेत प्रभाव पार्न सक्ने भएकाले ट्रम्पको पछिल्लो अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ ।

साउनमा बढ्यो वैदेशिक व्यापार, आयात १ खर्ब ८७ अर्ब, निर्यात ३८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागका अनुसार साउनमा एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार रुपैयाँबराबरका वस्तु तथा सामान नेपाल भित्रिएका छन् ।

यो रकम गत आर्थिक वर्षको साउनको तुलनामा ३१ दशमलव ०४ प्रतिशतले बढी हो । गत आवको साउनमा एक खर्ब ४३ अर्ब चार करोड छ लाख ६९ हजार रुपैयाँबराबरका वस्तु आयात भएको थियो । एक वर्षको अवधिमा आयातमा भएको उल्लेख्य वृद्धिले चालु आवको सुरुवातमै मुलुकको बाह्य व्यापार गतिविधि बढेको देखाएको छ ।

त्यस्तै, चालु आवको साउनमा नेपालबाट ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार रुपैयाँबराबरका वस्तु तथा सामान विदेशी बजारमा निर्यात भएका छन् । गत आर्थिक वर्षको सोही महिनामा २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार रुपैयाँबराबरको वस्तु निर्यात भएको थियो ।

यस आधारमा गत साउनको तुलनामा चालु आवको साउनमा निर्यात ६१ दशमलव ७२ प्रतिशतले वृद्धि भएको छ । आयातसँगै निर्यातमा समेत उल्लेख्य वृद्धि हुनुलाई नेपालको वैदेशिक व्यापारका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ ।

साउनमा आयात र निर्यात दुवै बढे पनि आयातको आकार निर्यातको तुलनामा निकै ठूलो रहेको छ । यसले नेपालको व्यापार घाटा अझै उच्च रहेको देखाउँछ । मुलुकले विदेशी बजारमा वस्तु बिक्रीबाट प्राप्त गर्ने आम्दानीभन्दा विदेशी वस्तु खरिदमा ठूलो रकम खर्च गर्दै आएको छ ।

भन्सार विभागको तथ्यांकले चालु आर्थिक वर्षको सुरुवातमै आयात र निर्यात दुवै क्षेत्रमा गतिविधि बढेको देखाएको छ । विशेषगरी निर्यातमा भएको ६१ प्रतिशतभन्दा बढीको वृद्धि नेपालको बाह्य व्यापारका लागि उल्लेख्य मानिएको छ ।

तर, निर्यातको तुलनामा आयातको मात्रा अझै धेरै भएकाले व्यापार सन्तुलन सुधारका लागि उत्पादन र निर्यात क्षमता विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ । स्वदेशी उत्पादन बढाउँदै निर्यातयोग्य वस्तुको बजार विस्तार गर्न सके आयातमा निर्भरता घटाउन र विदेशी मुद्रा आर्जन बढाउन सहयोग पुग्नेछ ।

चालु आर्थिक वर्षको आगामी महिनामा आयात तथा निर्यातको अवस्था कस्तो रहन्छ भन्नेले समग्र वैदेशिक व्यापारको दिशासमेत निर्धारण गर्नेछ । साउनको तथ्यांकले भने आर्थिक गतिविधि र बाह्य व्यापारमा सुरुवातमै केही गति आएको संकेत गरेको छ ।

नेपालको लगातार दोस्रो हार

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’ले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा नेपाल ‘ए’लाई बंगलादेश हाइ पर्फर्मेन्स टोलीले ९ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १०० रनको सामान्य लक्ष्य बंगलादेशले १०.२ ओभरमै एक विकेट गुमाएर पूरा गर्‍यो । जितसँगै बंगलादेशले खेलमा सहज प्रदर्शन गरेको छ भने नेपालका लागि प्रतियोगितामा पहिलो जितको प्रतीक्षा थप लम्बिएको छ ।

बंगलादेशका लागि जिशान आलमले आक्रामक ब्याटिङ गरे । उनले २९ बलमा अविजित ५२ रन बनाए । त्यस्तै अरिफुल इस्लामले अविजित ३४ रनको योगदान दिए । नेपाली बलरमध्ये शाहब आलमले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९९ रन बनाएको थियो । नेपाली टोलीको सुरुवात निकै खराब रह्यो । नेपाल एक समय चार ओभरमा १३ रन जोड्दा पाँच विकेट गुमाइसकेको अवस्थामा पुगेको थियो ।

त्यसपछि कुशल भुर्तेलले इनिङ्स सम्हाल्ने प्रयास गरे । उनले ४० बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ४६ रन बनाए । भुर्तेलले कठिन अवस्थामा केही महत्वपूर्ण रन जोड्दै नेपालको स्कोरलाई सम्मानजनक अवस्थामा पुर्‍याउने प्रयास गरेका थिए ।

नेपालका लागि बिपिन खत्रीले अविजित ११ रन बनाए भने रिजन ढकालले १० रनको योगदान दिए । अन्य ब्याटरले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् । सुरुवातमै लगातार विकेट गुमाउँदा नेपाल ठूलो योगफल बनाउनबाट चुकेको थियो ।

बंगलादेशका बलरहरूले नेपाली ब्याटरमाथि सुरुदेखि नै दबाब बनाए । त्यसको परिणाम नेपालले २० ओभरमा ९९ रनमा सीमित हुनुपर्‍यो । १०० रनको लक्ष्य निकै सामान्य भएकाले बंगलादेशका ब्याटरले सुरुदेखि नै आक्रामक शैली अपनाए ।

नेपालका लागि प्रतियोगिताको सुरुवात नै कठिन बनेको छ । पहिलो खेलमा नेपाल ‘ए’ आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा पनि बंगलादेश हाइ पर्फर्मेन्ससँग फराकिलो हार बेहोरेपछि नेपालले लगातार दुई खेल गुमाएको छ ।

अब नेपाल ‘ए’ले प्रतियोगितामा आफ्नो तेस्रो खेल सोमबार होबार्ट हरिकेन्स एकेडेमीसँग खेल्नेछ । लगातार दुई हारपछि नेपालका लागि उक्त खेल प्रतियोगितामा फर्किने महत्वपूर्ण अवसर हुनेछ ।

तेस्रो खेलमा नेपालले ब्याटिङ र बलिङ दुवै पक्षमा सुधार गर्नुपर्ने देखिएको छ । विशेषगरी सुरुवाती ओभरमै विकेट गुमाउने समस्या समाधान गर्न सकेमा नेपालले प्रतिस्पर्धात्मक प्रदर्शन गर्न सक्नेछ । आगामी खेलमा पहिलो जित निकाल्दै प्रतियोगितामा आफ्नो उपस्थिति बलियो बनाउने लक्ष्य नेपाली टोलीको हुनेछ ।

टप एन्ड टी-२० सिरिजमा नेपालको खराब प्रदर्शन

 

काठमाडौं । टप एन्ड टी-२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल ‘ए’ले बंगलादेश हाई पर्फमेन्ससामु १०० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९९ रनको योगफल तयार पारेको हो । सुरुवातदेखि नै दबाबमा परेको नेपाली टोलीले लगातार विकेट गुमाउँदा ठूलो योगफलतर्फ अघि बढ्न सकेन ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ४० बलको सामना गर्दै तीन चौका र एक छक्का प्रहार गरे । भुर्तेलले एक छेउ सम्हालेर इनिङ्स अघि बढाए पनि अन्य ब्याटरले लामो साझेदारी गर्न नसक्दा नेपाल सामान्य योगफलमै सीमित हुन पुग्यो ।

त्यस्तै विपिन खत्रीले अविजित ११ रन बनाए । साहब आलमले पनि ११ रनको योगदान गर्दा रिजन ढकालले १० रन बनाए । अन्य नेपाली ब्याटरले भने दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

नेपालको मध्यक्रम र तल्लो क्रम बंगलादेशी बलरको दबाबमा पर्‍यो । बंगलादेश हाई पर्फमेन्सका लागि एमडी रुबेलले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । रिपोन मण्डल, रोहनत डोउल्लाह ब्रोसन र समिउन बसिरले समान एक-एक विकेट लिए ।

नेपालले पहिलो खेलको तुलनामा सुधारिएको प्रदर्शन गर्ने अपेक्षा गरिए पनि ब्याटिङमा ठूलो स्कोर बनाउन नसक्दा टोली फेरि दबाबमा परेको छ । २० ओभरको खेलमा ९९ रन मात्र बनाउनु नेपालका लागि चुनौतीपूर्ण अवस्थाका रूपमा देखिएको छ ।

अब बंगलादेश हाई पर्फमेन्सले १०० रनको लक्ष्य पछ्याउनेछ । नेपाली बलरहरूले सुरुवाती ओभरमै विकेट निकाल्दै दबाब सिर्जना गर्न सकेमा खेलमा फर्किने अवसर नेपालसँग रहनेछ । तर, मरारा क्रिकेट मैदानमा ९९ रनको लक्ष्य रक्षा गर्न नेपाली बलरका लागि निकै कठिन चुनौती हुने देखिन्छ ।

नेपाल ‘ए’ टप एन्ड टी-२० सिरिजमा पहिलो जितको खोजीमा छ । यसअघि खेलेको पहिलो खेलमा नेपालले आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटको फराकिलो हार बेहोरेको थियो । पहिलो खेलमा ब्याटिङ र बलिङ दुवैमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपालले दोस्रो खेलमा भने बलिङमार्फत पुनरागमन गर्ने लक्ष्य राखेको छ ।

सिरिजमा आफ्नो पहिलो जित निकाल्न नेपालका लागि अब बलरहरूको प्रदर्शन निर्णायक बन्नेछ । ९९ रनको सामान्य लक्ष्य रक्षा गर्दै बंगलादेश हाई पर्फमेन्सलाई रोक्न सके नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गर्नेछ ।

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा ।१० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पाल्पामा १६ वर्षीय किशोर पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गत साउन ५ गते ती किशोरले लिची खान दिने प्रलोभन देखाउँदै बालिकालाई आफ्नो घरमा बोलाएका थिए। बालिकालाई फकाएर घरको गोठमाथिको पहिलो तलामा रहेको कोठामा लगेर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।

घटनाबारे भदौ ४ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित जाहेरी परेको थियो। जाहेरीपछि प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले आरोपित किशोरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका किशोरलाई पाल्पा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

बालेन मुस्ताङतिर, रविको नजर मधेशतिर !

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र  शाह (बालेन) निजी घुमघाम भनेर मुस्ताङतिर लागेकै दिन पार्टी सभापति रवि लामिछानेले भने पार्टीभित्रको ‘खेल’ अघि बढाएका छन् ।

बालेन पोखरा हुँदै मुस्ताङ उक्लिँदा रास्वपाको केन्द्रीय कार्यालयमा बसेको बैठकले पदाधिकारी नियुक्तिदेखि विभागीय जिम्मेवारी र केन्द्रीय सदस्य मनोनयनसम्मका निर्णय गरेको छ ।

बैठकबाट तीन मन्त्री सुनिल लम्साल, सुधन गुरुङ र प्रतिभा रावल केन्द्रीय सदस्य बने । जेनजी आन्दोलनका अगुवा भनेर चिनिएका पुरुषोत्तम यादवले भने एकैचोटि सहमहामन्त्रीको फड्को मारे । सभापति रवि लामिछानेलाई आर्थिक सहयोग गर्दै आएका भनिएका डा. मनोहर प्रधान कोषाध्यक्ष बने भने सुरेन्द्र चौधरीले सहप्रवक्ताको जिम्मेवारी पाए । चीन भ्रमणमा रहेका पूर्वमन्त्री जगदीश खरेल प्रवक्ता बने ।

पद पाउनेमध्ये अधिकांश रविनिकट मानिन्छन् । तर, सबैभन्दा धेरै चर्चा पुरुषोत्तम यादवको छ । हिजोसम्म जिल्ला प्रशासनबाट जेनजी प्रदर्शनको अनुमति लिने पात्र, आज पार्टीको सहमहामन्त्री ! रास्वपाको राजनीतिमा यति छिटो ‘लिफ्ट’ चढ्ने पात्रको खोजी गर्दा यादवको नाम अगाडि आएको छ ।

यादवलाई सुरुमा बालेननिकट भनेर बुझिन्थ्यो । अहिले भने रविको विश्वासपात्रका रूपमा उनको राजनीतिक उचाइ बढेको छ । आखिर बालेन मुस्ताङ लागेकै दिन रविले यादवलाई किन यति ठूलो जिम्मेवारी दिए ?

रास्वपाभित्र यसको आआफ्नै व्याख्या हुन थालेको छ ।

रास्वपा स्रोतका अनुसार यादवलाई अघि बढाउनुको पहिलो कारण मधेशको शक्ति सन्तुलन हो । मधेशमा पार्टीका प्रभावशाली नेता मनिष झा र अमरेशकुमार सिंहलाई ‘चेक एण्ड ब्यालेन्स’मा राख्ने रणनीति हुनसक्ने चर्चा छ ।

स्थापनाकालदेखि नै पार्टीमा रहेका मनिष झाको रविसँग सम्बन्ध पछिल्लो समय चिसिएको चर्चा छ । महामन्त्रीमा विपिनकुमार आचार्यसँग प्रतिस्पर्धा गरेपछि उनी सभापतिको नजरमा पहिलेझैँ प्रिय नरहेको बताइन्छ ।

अर्कोतर्फ अमरेशकुमार सिंह पार्टी र सरकार दुवैको आलोचना गर्न पछि नपर्ने नेताका रूपमा देखिएका छन् । यस्तो अवस्थामा मधेशमै अर्को शक्ति केन्द्र निर्माण गरेर यी दुईलाई साइजमा राख्ने रणनीति हुनसक्ने चर्चा छ ।

त्यसैले होला, मधेशकै यादवलाई अचानक सहमहामन्त्रीको कुर्सीमा पुर्‍याइएको अर्थ निकाल्न थालिएको छ ।

यादवको उकालो यात्रालाई कतिपयले अझ ठूलो राजनीतिक खेलसँग जोडेर हेरेका छन् ।

मधेशको ‘बेटा’ भन्दै चुनावमा घण्टीको लहर चलेपछि बालेन्द्र साह प्रधानमन्त्री बनेका हुन् । तर, मधेशका अपेक्षा र माग सम्बोधन गर्न नसकेको गुनासो बढ्दै गएको चर्चा छ ।

यही कमजोरीलाई समातेर रविले बालेनभन्दा पनि कम उमेरका यादवलाई राजनीतिक रूपमा अघि बढाउन खोजेको कतिपयको बुझाइ छ ।

यदि यो रणनीति हो भने भविष्यमा बालेनको विकल्प खोज्दा रविसँग अर्को ‘युवा कार्ड’ तयार हुनेछ । त्यसमाथि गृहमन्त्री सुधन गुरुङलाई पनि राजनीतिक रूपमा साइजमा राख्न सकिने हिसाब सभापति पक्षले गरेको हुनसक्ने चर्चा छ ।

गुरुङले आफूलाई जेनजी आन्दोलनको मुख्य अगुवाका रूपमा प्रस्तुत गर्दै आएका छन् । प्रदर्शनका क्रममा पानी बाँडेको भूमिकासमेत चर्चामा आएको थियो । तर, आन्दोलनका लागि औपचारिक अनुमति लिने व्यक्तिलाई नै पदाधिकारी तहमा पुर्‍याएर रविले अर्कै सन्देश दिएको अर्थ लगाउन थालिएको छ ।

रास्वपाको यो निर्णय भइरहँदा प्रधानमन्त्री बालेन भने बैठकमा थिएनन् । उनी निजी भ्रमणका नाममा पत्नी सविनासहित मुस्ताङतिर लागेका छन् ।

बालेन पक्षबाट पदाधिकारीका लागि नाम आउने अपेक्षा गरिएको भए पनि अहिलेसम्म त्यो प्रक्रिया अघि बढेको छैन । बरु रविले आफ्ना विश्वासिला नेताहरूलाई धमाधम जिम्मेवारी दिएका छन् ।

यसले रास्वपाभित्र ‘बालेन पक्ष कि रवि पक्ष ?’ भन्ने पुरानो प्रश्नलाई फेरि सतहमा ल्याएको छ ।

‘यस्ता बारुलासँग केपी ओली डराउदैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारप्रति तीव्र असन्तुष्टि जनाउँदै आफू र आफ्ना समर्थकहरूलाई दबाबमा पार्न राज्यशक्तिको दुरुपयोग भइरहेको आरोप लगाएका छन्।

नगरकोटमा आयोजित जनसंगठन समन्वय संयन्त्रको कार्यशालालाई सम्बोधन गर्दै ओलीले सरकार आलोचक र विरोधीलाई कमजोर बनाउने उद्देश्यले विभिन्न किसिमका दबाब र कारबाहीको रणनीति अपनाइरहेको दाबी गरे। उनले बदनाम गर्ने, पक्राउ गर्ने, सम्पत्ति जफत गर्ने तथा बैंक खाता रोक्का गर्नेजस्ता गतिविधिबाट मानिसलाई आर्थिक र मानसिक रूपमा दबाबमा पार्न खोजिएको आरोप लगाए।

ओलीले कुनै व्यक्ति वा व्यवसायीको कारोबार रोकिँदा त्यसको असर एउटा व्यक्तिमा मात्र सीमित नहुने बताए। कारोबार रोकिएपछि उद्योग–व्यवसाय प्रभावित हुने, मजदुरले पारिश्रमिक पाउन नसक्ने, बैंकको ऋण बढ्दै जाने र घरभाडासहित दैनिक आर्थिक दायित्व धान्न कठिन हुने उनको भनाइ थियो।

उनका अनुसार व्यवसाय सञ्चालन गर्न नपाउँदा उद्योगमा रहेका मेसिन तथा औजारसमेत निष्क्रिय भएर खिया लाग्ने अवस्था आउन सक्छ। एकातिर आम्दानीको बाटो बन्द हुने र अर्कोतिर बैंकको ब्याज तथा अन्य दायित्व बढ्दै जाने भएकाले यस्तो कदमले सम्बन्धित व्यक्तिलाई गम्भीर आर्थिक संकटमा धकेल्ने ओलीले बताए।

आफूलाई पक्राउ गरेर अरूलाई समेत त्रसित बनाउने प्रयास भएको ओलीको आरोप थियो। आफू विगतमा अनेक राजनीतिक दबाब र चुनौती सामना गर्दै आएको उल्लेख गर्दै उनले यस्ता गतिविधिबाट आफू नडराउने बताए।

‘मैले यस्ता बारुला मात्रै होइन, कति अरिङ्गाल खाएको छु। यी बारुलासँग म डराउँछु भन्ने कुरा उनीहरूलाई पनि लाग्दैन। तर अरूलाई तर्साउनका लागि केपी ओलीलाई समातेर थुनियो भने अरूको के हुन्छ भनेर थर्कमान बनाउन खोजियो,’ उनले भने।

ओलीले आफूहरूलाई दबाबमा पार्ने प्रयास क्षणिक पीडाजस्तो मात्र भएको टिप्पणी गर्दै यस्ता शक्तिका कारण देशलाई सधैँ उनीहरूको जिम्मामा छाड्न नसकिने बताए।

उनले मुलुकलाई पुनः सुशासन र विकासको बाटोमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। साथै नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्ने, छिमेकी मुलुकसँगको सम्बन्धलाई सुधार गर्दै परराष्ट्र नीतिलाई समेत सही दिशामा फर्काउनुपर्नेमा उनले जोड दिए।

सरकार पाँच वर्ष टिक्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन शाह नेतृत्वको सरकार पाँच वर्ष नटिक्ने दाबी गरेका छन्। नगरकोटमा भएको जनसंगठन समन्वय संयन्त्रको कार्यशालालाई सम्बोधन गर्दै ओलीले अराजकताबाट आएकाहरूलाई देशको जिम्मा लगाउन नसकिने बताए।

उनले लोकतन्त्र अपहरित भएको र संविधान मिचिएको दाबी गर्दै अपहरित लोकतन्त्रलाई फेरि फिर्ता ल्याउनुपर्ने बताए।

उनले भने, ‘लोकतन्त्र अपहरित भएको छ, संविधान मिचिएको छ। अपहरित लोकतन्त्रलाई फेरि फिर्ता ल्याउनुछ। हरेकको मनमा त्रास छ। एउटा स्टाटस लेख्नुस् त, कति गाली आउँछ, त्रास छ। सही स्टाटस लेख्नुस्, सही कुरा बोल्नै हुँदैन। हुल्याहाहरूको आक्रमण सुरु भइहाल्छ।’

दरबार हटाएर गणतन्त्र ल्याएका शक्ति भएकाले आफूहरू कसैसँग नडराउने उनले बताए।

उनले थपे, ‘यो कुन शक्तिको आडभरोसामा चलेको छ, मतलब छैन। यी तत्त्वहरूसँग हामी डराउँदैनौँ। डराउनुहुन्न। यो सरकार, तपाईंहरूलाई भन्दिएँ, पाँच वर्ष कुनै हालतमा जाँदैन। हाटहुट, लाटलुट, जनतालाई तर्साएर, थर्काएर, बोल्न नसक्ने बनाएर, जेसुकै गरेर, बाकस साटेर ल्याएर, बहुमत ल्याएको देखाइयो। बहुमत आयो भन्दैमा पाँच वर्ष लुटमार गर्न दिएको हो र?’

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भोट हालेर बहुमत दिएकोमा जनताले पश्चात्ताप गरिसकेको दाबी गरे। सरकारविरुद्ध जनता आफैँ आन्दोलित हुनुपर्ने भन्दै उनले पार्टीपंक्तिलाई तयारी अवस्थामा रहन निर्देशन दिए।

 

राजेन्द्र लिङ्देन र कमल थापाले अमेरिकी डलर लिएको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समिति बैठकमा झण्डै हात हालाहाल हुने गरी विवाद चर्किएको छ। बैठकमा राप्रपाका नेताहरूले विदेशी नागरिकबाट डलर लिएको भन्ने सूचना प्रस्तुत भएको थियो। विदेशी रकम भित्रिएको विषयलाई बैठकमा कसैले खण्डन गरेनन्।

चर्को आरोप-प्रत्यारोपबीच राप्रपामा अमेरिकी डलर भित्रिएको भन्ने कार्यसम्पादन समितिको बैठकमा गरिएको दाबी यदि झुटो होइन भने, नेपालको राजनीतिक दलले विदेशी नागरिकसँग विदेशी रकम बुझेको अवस्था गैरसंवैधानिक र गैरकानुनी मात्र नभएर अनैतिकसमेत हो। स्मरण रहोस्, कार्यसम्पादन समिति राप्रपामा महाधिवेशनपछिको सबैभन्दा शीर्ष समिति हो।

आफूलाई राष्ट्रवादी बताउने र भ्रष्टाचार गर्नु आमाको रगत खाएसरह हो भनेर कसम खाने अध्यक्ष भएको राप्रपामा विदेशी पैसा भित्रिएको अवस्था पूर्ण रूपमा नैतिकता र राजनीतिक धर्मविपरीत छ।

बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई कारबाही गर्ने विषयमा बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन, पूर्वअध्यक्ष कमल थापा र प्रेम श्रेष्ठबीच ठूलो विवाद चर्किएको थियो। व्यक्तिगत तहमा उत्रिएर नेताहरूबीच चर्को आरोप–प्रत्यारोप हुँदा झण्डै हात हालाहालको स्थिति पैदा भयो।

कमल थापाले उद्धव थापालाई कारबाही गर्न नहुने बताएपछि प्रेम श्रेष्ठले प्रतिवाद गरे। यही क्रममा लिङदेन, थापा र श्रेष्ठबीच विवाद बढ्दै जाँदा बैठकमा ठूलो होहल्ला भयो। यही विवादबीच कमल थापाले प्रेम श्रेष्ठलाई ‘तपाईं विदेशी नागरिक भएकाले बैठकमा नबोल्नुहोस्’ भने। त्यसको जवाफमा श्रेष्ठले भने, ‘म विदेशी हुँ भने मलाई किन पार्टीमा जिम्मेवार पदमा राखेको र किन डलर लिएको?’

कमल थापा अध्यक्ष छँदा प्रेम श्रेष्ठलाई केन्द्रीय पदाधिकारीको जिम्मेवारी दिइएको थियो भने राजेन्द्र लिङदेनले श्रेष्ठलाई कार्यसम्पादन समितिको सदस्य बनाएका छन्।

गृहमन्त्रालयको संरक्षणममा टिओबी!

काठमाडौं । २३ र २४ भदौको जेनजी विद्रोहले सत्ता नै परिवर्तन भयो। ७६ जना नवयुवाहरू सहिद बने। त्यही विद्रोहको जगमा सुशीला कार्कीको नेतृत्वमा सरकार बन्यो। निर्वाचन गराउनका निमित्त बनेको सरकारले २१ फागुनमा निर्वाचन पनि गरायो।

२१ फागुनको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुईतिहाइसहितको अभूतपूर्व जनमत प्राप्त गर्‍यो। काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह ‘बालेन’ प्रधानमन्त्री बने।

तर देशका महत्वपूर्ण संरचना सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राजनीतिक दलका कार्यालय, व्यावसायिक प्रतिष्ठान, व्यक्तिका निजी सम्पत्ति जलाउने गरी भएको उक्त विध्वंसको छानबिन अहिलेसम्म हुन सकेको छैन। अझ प्रक्रिया समेत अघि बढ्न सकेको छैन। तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्यारा करार गर्ने बालेन अहिले आफैं प्रधानमन्त्री छन्। तर २३ र २४ भदौमा भएका घटनाको छानबिन गर्ने सन्दर्भमा उनी मुखरित नै हुन सकेका छैनन्।

यही बीचमा जेनजी विद्रोहका सन्दर्भमा सरकारी तवरबाट गठन भएको गौरीबहादुर कार्की नेतृत्वको आयोग र मानव अधिकार आयोगले बनाएको प्रतिवेदन पनि सार्वजनिक भए। ती प्रतिवेदनले थुप्रै व्यक्तिलाई अनुसन्धानका लागि सिफारिस गरेका छन्।

तर जेनजी विद्रोहको जगमा बनेको सरकारले ती कुनै पनि प्रक्रिया अघि बढाउन चाहेको छैन। अथवा बढाउन चाहेको छैन। मानव अधिकार आयोगको प्रतिवेदनमा २३ र २४ भदौको घटना हिंसात्मक बनाउन तिब्बतियन अर्जीनल ब्लड (टीओबी) को मुख्य संलग्नता रहेको उल्लेख गरिएको छ। यही समूहसँग वर्तमान गृहमन्त्री सुधन गुरुङ पनि जोडिएका छन्।

आयोगको प्रतिवेदनमा भनिएको छ- शान्तिपूर्ण आन्दोलन एभरेस्ट होटल पुगेपछि त्यसमा टीओबीको प्रवेश भयो। र, त्यसपछि नै आन्दोलन हिंसात्मक बन्यो।

‘केही समयमै उक्त र्‍याली निर्धारित क्षेत्र र सीमा नाघी बबरमहल, बिजुली बजार पुल हुँदै नयाँ बानेश्वरस्थित एभरेस्ट होटल अगाडि पुगेको थियो। त्यसपछि प्रदर्शनकारीको संख्या बढेर करिब २०-२५ हजार पुगेको देखिन्छ। सोही क्रममा ‘टीओबी’ लेखिएको कालो टी-सर्ट लगाएका तथा हात र शरीरमा ‘टीओबी’ लेखिएको ट्याटु खोपेका करिब १५-२० जनाको बाइकर समूह आएर भीडलाई अगाडि बढ्न उक्साएको देखिएको छ। एभरेस्ट होटल अगाडि करिब २०-२५ हजारको भीड जम्मा भइसकेपछि करिब १२ बजेतिर हामी नेपाल संस्थाका सुमन गुरुङले भीडको नेतृत्व गरेको पाइएको छ,’ मानव अधिकार आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ।

आयोगका अनुसार उक्त समूहको प्रवेशपछि भीडलाई थप उत्तेजित बनाउने गतिविधि भएको देखिएको थियो। त्यसपछि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप बढ्दै जाँदा अश्रुग्यास तथा पानीको फोहोरा प्रयोग गरिएको र त्यसको प्रतिक्रियामा बीआईसीसी परिसरमा ढुंगामुढा तथा तोडफोड भएको प्रतिवेदनमा उल्लेख छ।

‘गुरुङले नेतृत्व लिएपछि प्रदर्शनकारीहरू आक्रोशित भई सुरक्षा ब्यारेकेड तोडेर निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीसँग मुठभेड र झडप भएको तथा त्यसले उग्र रूप लिएको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले शान्तिपूर्ण प्रदर्शन हिंसात्मक कसरी बन्यो भन्ने विषयमा उक्त बाइकर समूहको भूमिकामाथि थप अनुसन्धान आवश्यक रहेको औंल्याएको छ। उनीहरूको पहिचान, आन्दोलनका आयोजकसँगको सम्बन्ध तथा उनीहरू कसैबाट परिचालित थिए वा थिएनन् भन्ने विषय स्पष्ट हुन बाँकी रहेको आयोगको निष्कर्ष छ।

टीओबी भन्ने समूहको नेतृत्व गर्दै गृहमन्त्री बनेका गुरुङको हातमा सरकार सञ्चालनको चाबी छ। त्यसबेला उनी पनि दोषी सबैलाई कारबाही गर्छौं र न्याय दिन्छौँ भन्दै चर्को स्वर गर्नेहरूमध्ये अग्रस्थानमा थिए। तर २३ र २४ भदौका घटनाको छानबिन गर्ने बारेमा उनी कुनै कुरा नै गर्दैनन्। यसले टीओबी कतै गृहमन्त्रालयको संरक्षणमा त छैन भन्ने महत्वपूर्ण प्रश्नको उठान गर्छ।

यी प्रश्नको निष्पक्ष अनुसन्धान र तथ्यमा आधारित जवाफबिना २३ र २४ भदौका घटनाको पूर्ण सत्य बाहिर आउन कठिन देखिन्छ। विशेषगरी वर्तमान सरकार नै जेनजी आन्दोलनको राजनीतिक परिणामबाट बनेकाले ती घटनाको निष्पक्ष छानबिन गराउनु उसको राजनीतिक र कानुनी दुवै जिम्मेवारी बन्न पुगेको छ।

यूएनको महासचिवमा कसले मार्ला बाजी ?

काठमाडौं। संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया निर्णायक चरणतर्फ अघि बढेको छ । वर्तमान महासचिव एन्टोनियो गुटेरेसको दोस्रो पाँचवर्षे कार्यकाल आगामी डिसेम्बर ३१ मा सकिँदैछ ।

त्यसअघि नयाँ महासचिव छान्न सुरक्षा परिषद्मा उम्मेदवारहरूको समर्थन परीक्षण भइरहेको छ ।

हाल आठ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । संयुक्त राष्ट्रसंघको आधिकारिक विवरणअनुसार चयन प्रक्रिया २५ नोभेम्बर २०२५ मा औपचारिक रूपमा सुरु भएको थियो ।

सुरक्षा परिषद्का १५ सदस्यले २१ अगस्टमा दोस्रोपटक गोप्य ‘स्ट्र पोल’ गरेका छन् । यसमा गुयानाकी क्यारोलिन रोड्रिग्स–बिर्केटले ८ समर्थन मत पाएर सबैभन्दा अगाडि देखिएकी छन् । कोस्टारिकाकी रेबेका ग्रिन्स्पान र अर्जेन्टिनाका राफेल मारियानो ग्रोसीले ७–७ समर्थन मत पाएका छन् ।

यसअघि ३० जुलाईमा भएको पहिलो ‘स्ट्र पोल’मा ग्रिन्स्पान १० समर्थन मतसहित पहिलो स्थानमा थिइन् । रोड्रिग्स–बिर्केटले ९ र ग्रोसीले ७ समर्थन मत पाएका थिए ।

‘स्ट्र पोल’ औपचारिक निर्वाचन भने होइन । यो सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूले उम्मेदवारप्रतिको आफ्नो धारणा बुझ्न गर्ने अनौपचारिक र गैरबाध्यकारी मतदान हो । सदस्यहरूले उम्मेदवारलाई ‘समर्थन’, ‘असमर्थन’ वा ‘कुनै धारणा छैन’ मध्ये एक विकल्पमार्फत आफ्नो धारणा जनाउँछन् ।

आठ उम्मेदवार

संयुक्त राष्ट्रसंघको पछिल्लो आधिकारिक सूचीमा रेबेका ग्रिन्स्पान, राफेल मारियानो ग्रोसी, म्याकी साल, क्यारोलिन रोड्रिग्स–बिर्केट, मारिया फर्नान्डा एस्पिनोसा, मिशेल बाचेलेट, ओलारा ओटुन्नु र इभोन्ने ए–बाकी गरी आठ जना उम्मेदवार छन् ।

ग्रिन्स्पान कोस्टारिकाकी पूर्वउपराष्ट्रपति तथा संयुक्त राष्ट्र व्यापार तथा विकास सम्मेलनकी महासचिव हुन् । पहिलो ‘स्ट्र पोल’मा उनी सबैभन्दा अगाडि थिइन् ।

रोड्रिग्स–बिर्केट गुयानाकी पूर्वपरराष्ट्रमन्त्री तथा संयुक्त राष्ट्रसंघका लागि गुयानाकी स्थायी प्रतिनिधि हुन् । दोस्रो ‘स्ट्र पोल’मा सबैभन्दा बढी समर्थन पाएपछि उनको उम्मेदवारी अहिले थप चर्चामा आएको छ ।

ग्रोसी अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक हुन् भने म्याकी साल सेनेगलका पूर्वराष्ट्रपति हुन् । एस्पिनोसा इक्वेडोरकी पूर्वपरराष्ट्रमन्त्री तथा संयुक्त राष्ट्र महासभाकी पूर्वअध्यक्ष हुन् । बाचेलेट चिलीकी पूर्वराष्ट्रपति तथा पूर्वसंयुक्त राष्ट्र मानवअधिकार उच्चायुक्त हुन् । ओटुन्नु युगान्डाका पूर्वपरराष्ट्रमन्त्री तथा संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव हुन् । ए–बाकी इक्वेडोरकी अनुभवी कूटनीतिज्ञ हुन् र उनी अगस्टमा आठौँ उम्मेदवारका रूपमा दौडमा प्रवेश गरेकी हुन् ।

कसरी छानिन्छन् महासचिव ?

संयुक्त राष्ट्रसंघको महासचिव प्रत्यक्ष जनमतबाट निर्वाचित हुँदैनन् । सुरक्षा परिषद्ले एक उम्मेदवारलाई महासभासमक्ष सिफारिस गर्छ र महासभाले नियुक्त गर्छ । संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ९७ अनुसार सुरक्षा परिषद्को सिफारिस यस प्रक्रियाको निर्णायक चरण हो ।

१५ सदस्यीय सुरक्षा परिषद्मा उम्मेदवारलाई औपचारिक रूपमा सिफारिस गर्न कम्तीमा ९ समर्थन मत आवश्यक हुन्छ । साथै, पाँच स्थायी सदस्य अमेरिका, चीन, रुस, बेलायत र फ्रान्समध्ये कुनै एकले भिटो प्रयोग गरे उम्मेदवारी अघि बढ्न सक्दैन ।

त्यसैले दोस्रो ‘स्ट्र पोल’मा रोड्रिग्स–बिर्केटले सबैभन्दा बढी ८ समर्थन मत पाए पनि उनी अझै आवश्यक ९ मतको सीमाभन्दा तल छिन् । ग्रिन्स्पान र ग्रोसी पनि ७–७ मतमै छन् । यसले प्रतिस्पर्धा अझै खुला रहेको देखाउँछ ।

संयुक्त राष्ट्रसंघले भने नयाँ महासचिव चयन प्रक्रिया पारदर्शिता र समावेशिताका सिद्धान्तमा अघि बढिरहेको जनाएको छ ।

रविलाई हर्कको सुझाव- ‘बालेनको सरकारबाट देश बन्दैन, तुरुन्तै प्रधानमन्त्री बन्नुस्’

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई तत्काल सरकारको नेतृत्व सम्हाल्न सुझाव दिएका छन्।

उनले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको वर्तमान सरकारबाट देशले गति लिन नसक्ने दाबी गरेका छन्।

साम्पाङले लामिछानेलाई नै सरकारको नेतृत्वमा आउन आग्रह गर्दै ढिला नगरी कदम चाल्न सुझाव दिएका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तुरुन्तै ढिलो नगरी सरकार सम्हाल्नुपर्छ। यो सरकार रहिरहने हो भने न सुशासन हुन्छ, न विकास!’

सरकारले जनताको आधारभूत आवश्यकतासमेत पूरा गर्न नसकेको भन्दै साम्पाङले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। विशेषगरी खाना पकाउने ग्याससमेत सहज रूपमा उपलब्ध गराउन नसकेको सरकारबाट सुशासन र विकासको अपेक्षा गर्नु कठिन हुने उनको भनाइ छ।

साम्पाङको यस्तो अभिव्यक्तिले रास्वपाभित्रकै दुई शीर्ष नेताबीचको शक्ति समीकरण र संघर्षले राजनीतिक वृत्तमा चर्चा र चासो हुँदै आएको छ।

रियल सोसिडाडलाई हराउँदै बेटिसको विजयी सुरुवात

काठमाडौं। स्पेनिस ला लिगाको नयाँ सिजनमा रियल बेटिसले विजयी सुरुवात गरेको छ । बेटिसले शुक्रबार राति रियल सोसिडाडलाई १–० गोलले पराजित गरेको हो ।

सेभियाको ला कार्तुजा रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६३औँ मिनेटमा रोड्रिगो रिक्वेल्मेले गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए । कूचो हर्नान्डेजको पासमा रिक्वेल्मेले गरेको गोल नै निर्णायक बन्यो ।

त्यसपछि दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन । अन्ततः बेटिसले १-० को जितसहित महत्वपूर्ण तीन अंक जोड्यो ।

ला लिगाको नयाँ सिजनमा आज पनि खेलहरू हुँदैछन् ।

देउवा पक्राउ गर्ने तयारीमा सरकार?

काठमाडौं।नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गर्ने तयारी भइरहेको दाबी गरिएको छ।

एक उच्च सरकारी स्रोतका अनुसार आइतबारसम्म उनलाई पक्राउ गर्ने विषयमा सरकारभित्र छलफल भइरहेको हो।

देउवाविरुद्ध यसअघि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएको थियो। तर त्यसैका आधारमा पक्राउ नगर्न सर्वोच्च अदालतले गत जेठमा अन्तरिम आदेश दिएको थियो।

सर्वोच्चले सम्पत्ति शुद्धीकरणसम्बन्धी विषय विशेष अदालतको क्षेत्राधिकारमा पर्ने भन्दै जिल्ला अदालतबाट जारी भएको पक्राउ अनुमति निष्क्रिय भएको उल्लेख गरेको थियो।

यद्यपि, नयाँ कानुनी प्रक्रियाबाट पक्राउ गर्न सकिने सम्भावना भने कायमै रहेको कानुनी व्याख्या सार्वजनिक भएको थियो। विशेष अदालतबाट नयाँ पक्राउ पुर्जी जारी भएमा देउवालाई पक्राउ गर्न सकिने अवस्था रहने बताइएको छ।

करिब साढे पाँच महिना विदेश बसेर गत साउन २८ गते नेपाल फर्किएका देउवामाथिको अनुसन्धान त्यसपछि पनि चर्चामा छ।

स्रोतले पक्राउपछि स्वास्थ्य अवस्थाका कारण अस्पताल भर्ना हुने र त्यसपछि बन्दीप्रत्यक्षीकरणमार्फत रिहा हुने योजनासमेत बनाइएको दाबी गरेको छ। तर यस्तो दाबीको स्वतन्त्र पुष्टि भएको छैन।

यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीमाथि अनुसन्धान अघि बढाएको थियो।