`

अखिल क्रान्तिकारीको संरचना पूरा नगरी विद्यार्थी एकता स्वीकार्य छैन : सचिव बस्याल

काठमाडौं । अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव शिशिर बस्यालले संगठनको आन्तरिक संरचनालाई पूर्णता नदिई अन्य विद्यार्थी संगठनसँग एकता वा सहकार्य अघि बढाउन नसकिने बताएका छन्।

जेठ २९ गते बसेको अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठकको म्यान्डेटअनुसार परिपत्र जारी गर्न माग गर्दै आफूले भर्चुअल माध्यमबाट संगठनमा निवेदन दर्ता गराएको जानकारी दिँदै बस्यालले यथाशीघ्र सांगठनिक रिक्तताको समस्या समाधान गर्न नेतृत्वसँग आग्रह गरेका छन्।

बस्यालले अखिल (क्रान्तिकारी) को संगठनात्मक संरचना पूर्ण नहुँदै कुनै अन्य घटकसँगको एकता स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन्। उनले संगठनभित्रको आन्तरिक कमजोरी समाधान गरेर मात्रै संयुक्त विद्यार्थी आन्दोलनलाई प्रभावकारी बनाउन सकिने धारणा राखेका छन्।

उनका अनुसार पछिल्लो दुई वर्षदेखि अखिल (क्रान्तिकारी) का तीनवटा महत्वपूर्ण प्रदेश कमिटी नेतृत्वविहीन छन्। उपत्यका विशेष प्रदेश, विश्वविद्यालय प्रदेश र मधेश प्रदेश कमिटी लामो समयदेखि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको भन्दै उनले यसले संगठनको शक्ति क्षयीकरणमा गम्भीर असर पारेको बताएका छन्।

‘संयुक्त’ भन्नाले सबैलाई एउटै ठाउँमा उभ्याउने वा विभिन्न शक्तिलाई एउटै उद्देश्यमा जोड्ने भन्ने अर्थ लाग्ने भन्दै बस्यालले संयुक्त विद्यार्थी संगठन निर्माणको उद्देश्य शक्ति वृद्धि हुनुपर्ने बताएका छन्। तर आफ्नै संगठनका महत्वपूर्ण संरचना सञ्चालन गर्न नसक्ने अवस्थामा अन्य संगठनसँगको एकताले मात्रै शक्ति वृद्धि नहुने उनको तर्क छ।

उनले संगठनका आफ्ना नेता तथा कार्यकर्तालाई किनारामा पुर्‍याएर अन्य घटकसँग जतिसुकै सहकार्य वा एकता गरे पनि संगठन बलियो बन्न नसक्ने चेतावनी दिएका छन्। आफ्नै संगठन कमजोर हुँदा संयुक्त उद्देश्य बोकेको विद्यार्थी आन्दोलनसमेत कमजोर हुने उनको भनाइ छ।

बस्यालले सबैभन्दा पहिले अखिल (क्रान्तिकारी) लाई संगठनात्मक रूपमा पूर्णता दिनुपर्नेमा जोड दिएका छन्। रिक्त रहेका प्रदेश तथा अन्य संरचनालाई तत्काल पूर्णता दिएर संगठनलाई व्यवस्थित र प्रभावकारी ढंगले परिचालन गर्नुपर्ने उनको माग छ।

उनले अखिल (क्रान्तिकारी) ले पूर्णता नपाउन्जेल ‘संयुक्त विद्यार्थी संगठन’ का कुनै पनि कार्यक्रममा सहभागी नहुनेसमेत घोषणा गरेका छन्। यद्यपि, अखिल (क्रान्तिकारी) को आफ्नै ब्यानरमा तल्लो तहसम्म हुने कार्यक्रममा भने आफू आम कार्यकर्ताको हैसियतमा सहभागी हुने उनले स्पष्ट पारेका छन्।

बस्यालले आफ्नो असहमति व्यक्तिगत स्वार्थ वा पदको आकांक्षाका कारण नभएको दाबी गरेका छन्। संगठनलाई वर्तमान अवस्थामा प्रभावकारी रूपमा अघि बढाउन आन्तरिक संरचना मजबुत बनाउनु आवश्यक रहेको उनको भनाइ छ।

उनले स्थायी पक्षधरता कहिलेकाहीँ दासता जन्माउने खतरा रहेको भन्दै संगठनभित्र देखिएका कमजोरी सुधार्ने प्रयास गर्नुपर्ने बताएका छन्। सुधार सम्भव नभए आफ्नो पक्षधरता परिवर्तन गर्न सकिने तर दासत्व स्वीकार गर्न नसकिने उनको स्पष्ट धारणा छ।

‘सकेसम्म सुधार्ने हो, नसके पक्षधरता बदल्ने हो, दासत्व स्वीकार्ने होइन,’ बस्यालले भनेका छन्।

 

पोखरा बसपार्कको जग्गामा ५६७ भूमिहीन-अव्यवस्थित परिवार

पोखरा। पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगिएको छ।

महानगरपालिकाका अनुसार अन्तिम सूचीमा ३२५ परिवार भूमिहीन र २४२ परिवार अव्यवस्थित बसोबासी कायम भएका छन्। भूमिहीनमध्ये १४४ परिवार दलित र १८१ परिवार भूमिहीन सुकुमबासी छन्।

महानगरपालिकाले निवेदन, दाबी–विरोध, संशोधन र स्थलगत छानबिनपछि अन्तिम विवरण तयार गरेको हो। यसअघि प्रारम्भिक विवरणमा भूमिहीन दलिततर्फ २००, भूमिहीन सुकुमबासीतर्फ २४८ र अव्यवस्थित बसोबासीतर्फ ११६ परिवारका निवेदन परेका थिए।

अन्तिम विवरण अब महानगरपालिकाको कार्यपालिकामा पेस हुनेछ। कार्यपालिकाबाट निर्णय भएपछि जिल्ला समितिमा सिफारिस गर्ने तयारी महानगरपालिकाको छ।

महानगर प्रमुख धनराज आचार्यले वास्तविक भूमिहीन, भूमिहीन दलित र सुकुमबासीको पहिचान गरेर कानुनअनुसार व्यवस्थापन गरिने बताए। दाबी–विरोध र छानबिनको प्रक्रिया पूरा भइसकेकाले अब व्यवस्थापनको काम निर्णायक चरणमा पुगेको उनको भनाइ छ।

महानगरपालिकाले प्रक्रिया समयमै अघि बढे अर्को सातादेखि बसपार्क क्षेत्रको बस्ती व्यवस्थापन तथा स्थानान्तरणको काम सुरु गर्ने तयारी गरेको छ। सरोकारवाला निकायसँग समन्वय गरेर स्थानान्तरण गरिने महानगरको भनाइ छ।

तर, बसोबासीहरूले भने पहिले वैकल्पिक व्यवस्थापन गरेर मात्रै बस्ती हटाउनुपर्ने माग गरेका छन्। भूमिहीन सुकुमबासी सरोकार समितिका संयोजक प्रेम गुरुङले बसपार्क निर्माणमा आफूहरू बाधक नबन्ने भन्दै उचित व्यवस्थापनपछि मात्रै क्षेत्र खाली गर्नुपर्ने बताएका छन्।

पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि २०३२ सालमै जग्गा अधिग्रहण गरिएको थियो। तर पाँच दशक बितिसक्दा पनि बसपार्क निर्माण हुन सकेको छैन।

बसपार्कका लागि छुट्याइएको जग्गामा सुकुमबासीसहित विभिन्न व्यक्तिको बसोबास र संरचना निर्माण भएपछि योजना अघि बढ्न नसकेको महानगरको भनाइ छ। पछिल्लो समय महानगरपालिकाले बसपार्क क्षेत्रका व्यापारिक सटर तथा अन्य संरचना हटाउने कामसमेत अघि बढाएको छ।

अब बस्तीको व्यवस्थापन र स्थानान्तरणपछि लामो समयदेखि अलपत्र रहेको बसपार्क निर्माण योजनालाई गति दिने महानगरपालिकाको तयारी छ।

दातृ निकायको सहयोगमा सुविधासम्पन्न बसपार्क निर्माण गर्ने योजना महानगरले अघि सारेको छ।

युरोपमा प्रचण्ड गर्मी, चिसा ठाउँमै ४० डिग्री कट्यो

काठमाडौं। सन् २०२६ को गर्मीयाम युरोपका लागि असामान्य गर्मीको वर्ष बनेको छ। दक्षिणी युरोपमा ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम नयाँ विषय नभए पनि यसपटक मध्य, उत्तरी र पश्चिमी युरोपका तुलनात्मक रूपमा चिसा क्षेत्रमा समेत तापक्रमले ४० डिग्रीको सीमा पार गरेको छ।

युरोपेली ड्राउट अब्जर्भेटरीको अगस्ट १५ सम्मको तथ्याङ्कमा आधारित एएफपीको विश्लेषणअनुसार टर्कीबाहेक युरोपका त्यस्ता क्षेत्रमा करिब एक करोड ८० लाख मानिस बसोबास गर्छन्, जहाँ सन् २००० यता पहिलोपटक ४० डिग्री सेल्सियस तापक्रम पुगेको हो।

यसको ठूलो असर जर्मनीमा देखिएको छ। बर्लिनको दक्षिण तथा पश्चिम र फ्र्याङ्कफर्ट आसपासका क्षेत्रमा करिब ९० लाख मानिसले ४० डिग्रीसम्मको गर्मी सामना गरेका छन्। फ्रान्सका पूर्वी क्षेत्र तथा ब्रिटनीमा पनि करिब ४० लाख मानिस प्रभावित भएका छन्।

स्पेनमा गर्मीको अवधि झन् लामो देखिएको छ। जुनको मध्यदेखि अगस्टको मध्यसम्म लेरिडा, कर्डोबा र ग्रानाडा आसपासका क्षेत्रमा ५५ दिनभन्दा बढी तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि रह्यो।

स्पेनको मौसम निकाय एइएमइटीका अनुसार लेरिडाको मौसम केन्द्रमा लगातार एक महिनाभन्दा बढी समय हरेक दिन ३५ डिग्रीभन्दा माथि तापक्रम मापन भएको थियो। उत्तरतर्फको लेरिडामा यस्तो अवस्था यसअघि देखिएको थिएन।

साइप्रसको राजधानी निकोसियामा पनि ५५ दिनभन्दा बढी समय ३५ डिग्रीभन्दा माथिको तापक्रम कायम रह्यो।

मध्य, पूर्वी र उत्तरी युरोपका कैयौँ देशमा यस वर्ष तापक्रमले पुराना रेकर्डसमेत तोडेको छ। डेनमार्कमा ३७ डिग्री, स्लोभाकियामा ४२.२ डिग्री र जर्मनी, अस्ट्रिया, चेक गणतन्त्र तथा पोल्यान्डका विभिन्न क्षेत्रमा ४० देखि ४२ डिग्रीसम्म तापक्रम पुगेको छ।

इटालीको सार्डिनियास्थित ओरानीमा जुलाई १९ मा ४८.४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो। यो सन् २०२१ मा सिसिलीमा रेकर्ड गरिएको युरोपको उच्चतम ४८.८ डिग्री सेल्सियसभन्दा केही कम हो।

युरोपका लागि यस वर्षको गर्मीको अर्को चिन्ताजनक पक्ष रातको तापक्रम हो। दिनभर चर्को गर्मी भएपछि रातमा शरीरले राहत पाउने अपेक्षा गरिए पनि धेरै क्षेत्रमा रातसमेत असामान्य रूपमा तातो रह्यो।

युरोपेली ड्राउट अब्जर्भेटरीका अनुसार करिब एक करोड ८० लाख मानिस बसोबास गर्ने क्षेत्रमा रातको तापक्रम २५ डिग्रीभन्दा तल झरेन।

फ्रान्सको पे दे ला लोयर क्षेत्रमा करिब ५० लाख मानिस तथा पेरिस आसपासका क्षेत्रमा यस्तो अवस्था देखिएको थियो। पोल्यान्डको राजधानी वार्सा आसपासमा समेत रातको तापक्रम असामान्य रूपमा उच्च रह्यो।

इटालीका पश्चिमी क्षेत्र, सिसिली र दक्षिणी एड्रियाटिक तटका केही भागमा दुई महिनाको अवधिमा २० भन्दा बढी रात तापक्रम २५ डिग्रीभन्दा माथि रह्यो। क्रोएसियाको ब्राच टापु आसपासमा पनि असामान्य रूपमा ताता रात देखिए।

विज्ञहरूका अनुसार दिनमा मात्र नभई रातमा समेत तापक्रम उच्च रहँदा शरीरले पुनः सामान्य अवस्थामा फर्कने अवसर पाउँदैन। लामो समयसम्म यस्तो अवस्था कायम रहँदा स्वास्थ्यसँगै ऊर्जा, कृषि र वातावरणमा समेत असर पर्न सक्छ।

सन् २०२६ का तथ्याङ्कले युरोपमा जलवायु परिवर्तनको असर अब केही दिनको अत्यधिक गर्मीमा मात्र सीमित नरहेको देखाएको छ।

गर्मीको अवधि लम्बिनु, नयाँ क्षेत्रमा ४० डिग्री पार हुनु र रातसमेत चिसिन छाड्नुले युरोपको बदलिँदो जलवायुको गम्भीर संकेत गरेको छ।

गौहत्या र बीफ बिक्रीविरुद्ध जय नेपाल पार्टीले अभियान चलाउने

काठमाडौं । जय नेपाल पार्टीले नेपालमा गौहत्या रोक्न तथा होटल, रेस्टुरेन्टलगायत खाद्य व्यवसायमा बीफ (गाईको मासु) को बिक्री-वितरणमा पूर्ण प्रतिबन्ध लगाउन माग गर्दै अभियान सुरु गरेको छ। पार्टीले गाई नेपालको राष्ट्रिय जनावर भएकाले यसको संरक्षण, सम्मान र सुरक्षालाई राज्यको प्राथमिकतामा राखिनुपर्ने बताउँदै गौवंश संरक्षणका लागि जनचेतनामूलक अभियान अघि बढाएको हो।

पार्टीले ‘से नो टू काउ स्लटर’ अर्थात् ‘गौहत्यालाई नाइँ भनौँ’ भन्ने नाराका साथ अभियान सुरु गरेको जनाएको छ। अभियानअन्तर्गत होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूलाई बीफको बिक्री–वितरण नगर्न आग्रह गरिनेछ। पार्टीका सभापति डा. धवलशमशेर राणाले राष्ट्रिय जनावरको सम्मान गर्नु केवल धार्मिक विषय मात्र नभई नेपालको सामाजिक, सांस्कृतिक तथा कानुनी व्यवस्थासँग समेत जोडिएको विषय भएको बताएका छन्।

राणाका अनुसार नेपालमा गाईलाई राष्ट्रिय जनावरका रूपमा मान्यता दिइएको अवस्थामा यसको संरक्षण र सुरक्षाका लागि राज्य तथा नागरिक दुवै पक्ष जिम्मेवार हुनुपर्छ। राष्ट्रिय जनावरको हत्या तथा त्यससँग सम्बन्धित गतिविधिलाई निरुत्साहित गर्न सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित व्यवसायीहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।

जय नेपाल पार्टीले होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूलाई विशेष रूपमा लक्षित गर्दै राष्ट्रिय जनावरको मासु बिक्री नगर्न आग्रह गरेको छ। पार्टीका अनुसार व्यावसायिक प्रयोजनका लागि गाईको मासु बिक्री–वितरण हुने अवस्थालाई अन्त्य गर्न आवश्यक कानुनी तथा प्रशासनिक कदम चालिनुपर्छ। अभियानमार्फत व्यवसायी तथा आम नागरिकमा गौवंश संरक्षणसम्बन्धी चेतना फैलाउने पार्टीको उद्देश्य रहेको जनाइएको छ।

पार्टीले नेपालको धार्मिक तथा सांस्कृतिक परम्परामा गाईको विशेष स्थान रहेको उल्लेख गर्दै यसको संरक्षणलाई सामाजिक जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिएको छ। नेपालका विभिन्न समुदाय तथा धार्मिक परम्परामा गाईलाई सम्मान गरिँदै आएको भन्दै पार्टीले राष्ट्रिय जनावरको संरक्षणमा कुनै पनि प्रकारको लापरबाही स्वीकार्य नहुने जनाएको छ।

यसैबीच, जय नेपाल पार्टीले गौवंशको संरक्षणका लागि सरकारको भूमिका अझ प्रभावकारी हुनुपर्ने माग गरेको छ। पार्टीले गौहत्या रोक्न विद्यमान कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न, सीमावर्ती तथा अन्य संवेदनशील क्षेत्रमा निगरानी बढाउन तथा राष्ट्रिय जनावरको संरक्षणसम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएको छ।

पार्टीका अनुसार गौवंश संरक्षणका नाममा केवल नारामा सीमित नभई व्यवहारिक कार्यक्रमसमेत सञ्चालन गर्न आवश्यक छ। छाडा चौपायाको व्यवस्थापन, गौसंरक्षण केन्द्रको प्रभावकारी सञ्चालन, बिरामी तथा घाइते गाईको उपचार र संरक्षण तथा पशुधनको उचित व्यवस्थापनमा स्थानीय तह र राज्यका सम्बन्धित निकायले ध्यान दिनुपर्ने पार्टीको धारणा छ।

जय नेपाल पार्टीले गौहत्या रोक्ने अभियानलाई देशव्यापी रूपमा अघि बढाउने संकेतसमेत गरेको छ। पार्टीका नेता तथा कार्यकर्ताले विभिन्न स्थानमा जनचेतना फैलाउने, व्यवसायी तथा सरोकारवालासँग छलफल गर्ने र राष्ट्रिय जनावरको संरक्षणका लागि राज्यलाई दबाब दिने कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन्।

गत भदौ ४ गते काठमाडौंमा सम्पन्न जय नेपाल पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय जनावर गाईको सुरक्षा र सम्मानका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पार्टीले औपचारिक रूपमा अभियान सुरु गरेको जनाएको छ।

नेपालको संविधान तथा प्रचलित कानुनले गाईलाई राष्ट्रिय जनावरका रूपमा मान्यता दिएको छ। साथै, गौहत्या कानुनतः दण्डनीय रहेको अवस्थामा त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको पार्टीको भनाइ छ। पार्टीले कानुनमा व्यवस्था हुँदाहुँदै पनि कतिपय स्थानमा राष्ट्रिय जनावरको संरक्षण चुनौतीपूर्ण बन्दै गएको भन्दै राज्यका सम्बन्धित निकायलाई थप संवेदनशील बन्न आग्रह गरेको छ।

जय नेपाल पार्टीले अभियानलाई कुनै एक समुदाय वा समूहविरुद्धको अभियानका रूपमा नभई राष्ट्रिय जनावरको संरक्षण र कानुनको कार्यान्वयनसँग जोडिएको विषयका रूपमा बुझ्न आग्रह गरेको छ। पार्टीका अनुसार राष्ट्रिय जनावरको संरक्षणका लागि सरकारले स्पष्ट नीति, प्रभावकारी अनुगमन र कानुनी कार्यान्वयनको व्यवस्था गर्नुपर्छ।

गौहत्याविरुद्धको अभियान सुरु भएसँगै होटल तथा रेस्टुरेन्टमा गाईको मासुको बिक्री–वितरणसम्बन्धी विषय पनि सार्वजनिक बहसमा आउने देखिएको छ। पार्टीले व्यवसायीहरूलाई स्वेच्छिक रूपमा बीफ बिक्री नगर्न आग्रह गर्दै अभियानलाई सामाजिक अभियानका रूपमा अघि बढाउने जनाएको छ। सरकारले समेत विद्यमान कानुनी व्यवस्थाअनुसार आवश्यक कदम चाल्नुपर्ने जय नेपाल पार्टीको माग छ।

पार्टी सभापति राणाले राष्ट्रिय जनावरको संरक्षणमा सरकार, राजनीतिक दल, व्यवसायी, नागरिक समाज र आम नागरिक सबैको साझा भूमिका रहेको बताएका छन्। उनले गौवंशको सुरक्षा र सम्मानका लागि राज्यले दीर्घकालीन नीति बनाउनुपर्ने तथा कानुन कार्यान्वयनमा कुनै कमजोरी हुन नहुनेमा जोड दिएका छन्।

जय नेपाल पार्टीले आगामी दिनमा अभियानलाई थप विस्तार गर्दै गौहत्याविरुद्ध जनमत निर्माण गर्ने, होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई सचेत गराउने र सम्बन्धित सरकारी निकायलाई कानुन कार्यान्वयनका लागि निरन्तर दबाब दिने जनाएको छ। पार्टीले राष्ट्रिय जनावरको संरक्षणलाई राजनीतिक तथा सामाजिक बहसको महत्वपूर्ण विषय बनाउन अभियानलाई निरन्तरता दिने बताएको छ।

सभामुखको सासूको निधनपछि संसद् बैठक स्थगित

काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालकी सासूआमाको निधन भएपछि सोमबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

संसद् सचिवालयका अनुसार दिउँसो १ बजेका लागि तय भएको बैठक सभामुखको पारिवारिक शोकका कारण स्थगित गरिएको हो। यसअघि पनि सभामुख अर्यालको स्वास्थ्यमा समस्या देखिएको थियो।

अर्याल सोमबार साँझ छातीमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सीसीयूमा भर्ना भएका थिए। केही घण्टाको उपचारपछि उनलाई राति नै अस्पतालबाट डिस्चार्ज गरिएको थियो।

पछिल्लो समय सभामुख अर्यालको स्वास्थ्य र पारिवारिक अवस्थाका कारण संसद् बैठकसमेत प्रभावित भएको हो।

काठमाडौंमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन [तस्वीरहरू]

काठमाडौं। काठमाडौं उपत्यकाका सडकमा देखिने खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन कार्यालय काठमाडौंले ‘सडक पोटहोल मर्मत एम्बुलेन्स’ परिचालन गरेको छ।

सडकलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले सुरु गरिएको अभियानअन्तर्गत अहिले चक्रपथबाहिरका सडकमा मर्मतलाई प्राथमिकता दिइएको कार्यालयले जनाएको छ।

चक्रपथभित्रका सडकको मर्मत सकेपछि बाहिरी क्षेत्रमा काम अघि बढाइएको हो।

सवारी चाप कम हुने रातको समयसमेत उपयोग गरेर मर्मतलाई तीव्रता दिइएको छ। सोमबार साँझ नारायणगोपाल चोक–बुढानीलकण्ठ सडकखण्डअन्तर्गत गोल्फुटार, हात्तीगौंडालगायत क्षेत्रमा एम्बुलेन्समार्फत सडकका क्षतिग्रस्त भाग मर्मत गरिएको थियो।

खाल्डाखुल्डी देखिनेबित्तिकै प्राविधिक टोलीसहितको ‘सडक एम्बुलेन्स’ सम्बन्धित स्थानमा पुग्ने व्यवस्था गरिएको छ। कार्यालयले यस सेवालाई वर्षभरि ३६५ दिन, चौबीसै घण्टा सञ्चालन गर्ने योजना बनाएको छ।

एम्बुलेन्समा खाल्डो काट्ने, सफा गर्ने, इमल्सन तताउने र छर्कनेलगायत सडक मर्मतका लागि आवश्यक उपकरण जडान गरिएको छ। त्यसका लागि तालिमप्राप्त प्राविधिक टोलीसमेत परिचालन गरिएको छ।

सडक मर्मत आवश्यक पर्ने स्थानको जानकारी संकलन गर्न कार्यालयले ‘रोड मेन्टिनेन्स साइट रेस्क्यु (आरएमएसआर)’ नामक मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ। एपमार्फत प्राप्त सूचनाका आधारमा मर्मत टोलीलाई सम्बन्धित स्थानमा पठाइने कार्यालयले जनाएको छ।

काठमाडौंमा पाइलट परियोजनाका रूपमा सुरु गरिएको ‘सडक एम्बुलेन्स’ प्रभावकारी भए देशका अन्य सडक डिभिजनमा समेत विस्तार गर्ने योजना रहेको कार्यालयले जनाएको छ।

 

विज्ञान, प्रविधि तथा नवप्रवर्तन विधेयक विज्ञापन जस्तो 

काठमाडाैं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले आफ्नो पहिलो नियमावलीको मस्यौदा तयार पारिसकेको छ। बालेन्द्र शाह ‘बालेन’ प्रधानमन्त्री बनेपछि स्थापना भएको यो मन्त्रालयसम्बन्धी अहिलेसम्म नेपालमा कुनै कानुनी व्यवस्था छैन। यही कारण बजेट खर्च, अन्य लजिस्टिक व्यवस्थापनलगायतका विषयमा समस्या रहँदै आएको मन्त्री महावीर पुनले संसद्‌मै बताएका थिए।

अहिले भने मन्त्रालयले सम्बन्धित विधेयक संसद्मा ल्याउने तयारी गरेको छ। मन्त्री पुनले विधेयकको मस्यौदा फेसबुकमा सार्वजनिक गर्दै त्यसमा सुझाव तथा प्रतिक्रिया मागेका छन्।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन कुनै पनि मुलुकको आर्थिक, सामाजिक र रणनीतिक रूपान्तरणका प्रमुख आधार हुन्। आज विकसित मुलुकहरूले विश्वविद्यालयमा मात्र अनुसन्धान सीमित नराखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विशिष्टीकृत अनुसन्धान केन्द्र, उत्कृष्टता केन्द्र, राष्ट्रिय प्रयोगशाला र उद्योगसँग जोडिएका प्रविधि विकास संस्थामार्फत अनुसन्धानलाई संस्थागत गरेका छन्। यस्तो अभ्यासको मुख्य उद्देश्य ज्ञान उत्पादन मात्र नभई अनुसन्धानबाट प्रविधि, प्रविधिबाट उत्पादन र उत्पादनबाट आर्थिक तथा सामाजिक लाभ सिर्जना गर्नु हो। यस दृष्टिले नेपालमा प्रस्तावित विज्ञान, प्रविधि तथा नवप्रवर्तन केन्द्र तथा त्यससँग सम्बन्धित संरचनालाई अन्तर्राष्ट्रिय अभ्यासको सापेक्षतामा हेर्नु आवश्यक छ।

प्रस्तावित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नियमावलीले विज्ञ परामर्श समिति, विज्ञान प्रविधि तथा नवप्रवर्तन केन्द्र, राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन कोष, उत्कृष्टता केन्द्र, विशिष्टीकृत अनुसन्धान केन्द्र, राष्ट्रिय प्रयोगशाला, बौद्धिक सम्पत्ति, प्रविधि हस्तान्तरण, अन्तर्राष्ट्रिय सहकार्य, अनुसन्धान नैतिकता, नियामकीय स्यान्डबक्स र राष्ट्रिय अनुसन्धान डाटाबेसजस्ता विषयलाई समेटेको छ। यसले नेपालमा अनुसन्धान प्रणालीलाई एउटा संस्थागत ढाँचामा लैजाने प्रयास गरेको देखिन्छ। नियमावलीमा अनुसन्धान प्रस्ताव अनलाइनबाट माग गर्ने, विज्ञबाट मूल्याङ्कन गर्ने, उपलब्धि र माइलस्टोनका आधारमा अनुदान दिने तथा अनुसन्धानको नतिजा र लेखापरीक्षण अनिवार्य गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

तर नेपालमा अर्को एउटा ‘केन्द्र’ मात्रै आवश्यक छ कि छैन भन्ने प्रश्न उठिरहेका छन्। केन्द्र कत्तिको स्वायत्त, वैज्ञानिक रूपमा स्वतन्त्र, आर्थिक रूपमा सक्षम र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी हुन सक्छ? विश्वका सफल अनुसन्धान केन्द्रहरूको अभ्यास हेर्दा केवल संरचना निर्माणले वैज्ञानिक उपलब्धि हासिल हुँदैन। संस्थागत स्वतन्त्रता, दीर्घकालीन वित्तपोषण, उत्कृष्ट वैज्ञानिक नेतृत्व, अन्तर्राष्ट्रिय सहकार्य, अनुसन्धान पूर्वाधार र उद्योगसँगको सम्बन्धले अनुसन्धान केन्द्रको प्रभावकारिता निर्धारण गर्छ।

स्विट्जरल्यान्डस्थित युरोपेली आणविक अनुसन्धान संगठन (सीईआरएन) अन्तर्राष्ट्रिय अनुसन्धान सहकार्यको उत्कृष्ट उदाहरण हो। सीईआरएनको सर्वोच्च निर्णयकारी निकाय सदस्य राष्ट्रका प्रतिनिधिहरू सम्मिलित परिषद् हो भने वैज्ञानिक कार्यक्रमको मूल्याङ्कन वैज्ञानिक उत्कृष्टताका आधारमा हुने वैज्ञानिक नीति समितिले गर्छ। सदस्य राष्ट्रहरूले संस्थाको बजेटमा योगदान गर्छन् र वैज्ञानिक तथा प्राविधिक कार्यक्रमको शासनमा सहभागी हुन्छन्।

सीईआरएनको अर्को महत्वपूर्ण पक्ष यसको अन्तर्राष्ट्रिय साझेदारी हो। विश्वका सयौँ विश्वविद्यालय र अनुसन्धान संस्थाले सीईआरएनका पूर्वाधार प्रयोग गर्छन्। ठूला प्रयोगका लागि विभिन्न देशका संस्थाले वित्तीय तथा प्राविधिक योगदान गर्छन्। सदस्य राष्ट्रबाहेक अन्य देशसँग अन्तर्राष्ट्रिय सहकार्य सम्झौता तथा बहुपक्षीय समझदारीमार्फत अनुसन्धान सहकार्य सञ्चालन हुन्छ। नेपाल पनि सीईआरएनसँग वैज्ञानिक सहकार्य गर्ने मुलुकमध्येमा पर्छ।

सीईआरएनको अभ्यासले नेपाललाई एउटा महत्वपूर्ण पाठ दिन्छ-ठूलो अनुसन्धान केन्द्र एक्लै सबै काम गर्ने संस्था होइन, बरु विश्वविद्यालय, वैज्ञानिक, उद्योग, सरकार र अन्तर्राष्ट्रिय अनुसन्धान संस्थालाई एउटै अनुसन्धान प्रणालीमा जोड्ने साझा पूर्वाधार हो। त्यसैले नेपालमा प्रस्तावित केन्द्रले आफैं सबै अनुसन्धान गर्नेभन्दा अनुसन्धान प्रणालीको संयोजक, वित्तपोषक, पूर्वाधार प्रदायक र अन्तर्राष्ट्रिय सहकार्यको द्वारका रूपमा काम गर्नु बढी प्रभावकारी हुन सक्छ।

जर्मनीको म्याक्स प्लांक सोसाइटी अर्को महत्वपूर्ण उदाहरण हो। यसअन्तर्गतका अनुसन्धान संस्थाहरूलाई अनुसन्धानका विषय र विधिमा पर्याप्त स्वायत्तता दिइन्छ। संस्थाका वैज्ञानिक कार्यसम्पादनको अन्तर्राष्ट्रिय विज्ञहरूबाट निरन्तर मूल्याङ्कन हुने व्यवस्था छ र वैज्ञानिक सल्लाहकार बोर्डमा ठूलो हिस्सा बाह्य अन्तर्राष्ट्रिय वैज्ञानिकको हुन्छ।

नेपालका लागि म्याक्स प्लांकको सबैभन्दा ठूलो पाठ ‘वैज्ञानिक स्वायत्तता’ हो। प्रस्तावित नियमावलीमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन केन्द्रको संगठन र सञ्चालन सरकारबाट स्वीकृत संगठनात्मक संरचना र दरबन्दीमा निर्भर रहने व्यवस्था छ। यदि केन्द्रको अनुसन्धान प्राथमिकता, बजेट, जनशक्ति र निर्णय प्रक्रियामा मन्त्रालयको प्रशासनिक नियन्त्रण अत्यधिक भयो भने त्यस्तो संस्था अनुसन्धान केन्द्रभन्दा अर्को सरकारी कार्यालयमा रूपान्तरण हुने जोखिम हुन्छ।

अर्कोतर्फ जर्मनीकै फ्राउनहोफर मोडलले अनुसन्धानलाई उद्योगसँग जोड्ने प्रभावकारी बाटो देखाउँछ। फ्राउनहोफरको अनुसन्धान वित्तपोषणमा उद्योगबाट प्राप्त प्रत्यक्ष करार, सार्वजनिक परियोजना र आधारभूत सार्वजनिक वित्तपोषण गरी विभिन्न स्रोतको मिश्रण हुन्छ। उद्योगसँगको करार अनुसन्धान यसको प्रमुख आधार हो।

नेपालमा भने अनुसन्धान, विश्वविद्यालय र उद्योगबीचको दूरी अझै ठूलो छ। त्यसैले प्रस्तावित केन्द्रले केवल अनुदान वितरण गर्ने संस्थाको भूमिका निभाए पुग्दैन। अनुसन्धानको नतिजा उद्योगसम्म लैजाने, प्रोटोटाइप विकास गर्ने, पेटेन्टको व्यावसायीकरण गर्ने र निजी क्षेत्रलाई सहवित्तपोषणमा ल्याउने संयन्त्र निर्माण गर्नुपर्छ।

अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थान (एनआईएच) पनि फरक प्रकारको महत्वपूर्ण अभ्यास हो। एनआईएच २७ वटा संस्था तथा केन्द्रमा विभाजित छ र प्रत्येकको आफ्नै अनुसन्धान एजेन्डा तथा बजेट व्यवस्थापन हुन्छ। यसको आन्तरिक अनुसन्धान कार्यक्रम विभिन्न संस्थाभित्र सञ्चालन हुन्छ र ठूलो संख्यामा वैज्ञानिक तथा अनुसन्धानकर्ता संलग्न छन्। यसबाट नेपालले ‘एकै छातामुनि सबै विज्ञान’ राख्नेभन्दा विषयगत उत्कृष्टता र स्पष्ट जिम्मेवारीसहित विशिष्टीकृत केन्द्र निर्माण गर्ने अभ्यास सिक्न सक्छ।

जापानको रिकेन पनि नेपालका लागि विशेष उपयोगी उदाहरण हो। रिकेन आधारभूत र प्रयोगात्मक दुवै प्रकारको अनुसन्धानमा केन्द्रित राष्ट्रिय व्यापक अनुसन्धान संस्था हो। यसअन्तर्गत क्वान्टम कम्प्युटिङ, कृत्रिम बुद्धिमत्ता, मस्तिष्क विज्ञान, जैविक स्रोत, दिगो स्रोत, फोटोनिक्स, कम्प्युटेसनल विज्ञान, आणविक विज्ञानलगायतका विशिष्टीकृत केन्द्रहरू छन्। रिकेनले अनुसन्धान क्षेत्रहरूबीच सहकार्य बढाउने संरचना तथा ठूलो अनुसन्धान पूर्वाधारलाई साझा रूपमा प्रयोग गर्ने अभ्यास पनि अघि बढाएको छ।

पहिलो चरणमै दर्जनौँ नयाँ अनुसन्धान केन्द्र खोल्नुको सट्टा नेपालका वास्तविक आवश्यकता र तुलनात्मक लाभका क्षेत्रमा केही राष्ट्रिय उत्कृष्टता केन्द्र विकास गर्नु उपयुक्त हुन्छ। हिमाली विज्ञान, जलवायु परिवर्तन, जैविक विविधता, कृषि प्रविधि, जलस्रोत, विपद् व्यवस्थापन, औषधि तथा जैविक प्रविधि, कृत्रिम बुद्धिमत्ता र उच्च हिमाली स्वास्थ्यजस्ता क्षेत्रमा केन्द्रित अनुसन्धान पूर्वाधार विकास गर्न सकिन्छ।

प्रस्तावित नियमावलीमा केही महत्वपूर्ण सुधारात्मक पक्ष छन्। अनुसन्धान प्रस्ताव विज्ञ समितिबाट मूल्याङ्कन गर्ने, अनुसन्धानकर्ताको क्षमता, अनुसन्धान विधि, आर्थिक प्रस्ताव, व्यावसायिक सम्भाव्यता र सामाजिक-आर्थिक प्रभावलाई मूल्याङ्कनको आधार बनाउने अवधारणा सकारात्मक छ। त्यस्तै, अनुदानलाई ३०-४०-३० प्रतिशतको किस्तामा उपलब्ध गराउने र अन्तिम किस्ता नतिजा वा प्रोटोटाइप स्वीकृत भएपछि मात्र दिने व्यवस्था परिणाममुखी वित्तपोषणतर्फको कदम हो।

उत्कृष्टता केन्द्रको अवधारणा पनि सकारात्मक छ। कम्तीमा पाँच वर्षको अनुसन्धान अनुभव, उच्चस्तरीय प्रयोगशाला, पीएचडी वा सोसरहका अनुसन्धानकर्ता र राष्ट्रिय वा अन्तर्राष्ट्रिय वैज्ञानिक प्रकाशन वा बौद्धिक सम्पत्तिलाई आधार बनाउने व्यवस्था गरिएको छ। यसले नाम मात्रको ‘उत्कृष्टता केन्द्र’ बनाउने सम्भावना घटाउन सक्छ।

त्यसैगरी विशिष्टीकृत अनुसन्धान केन्द्र तथा राष्ट्रिय प्रयोगशालालाई अन्तर्राष्ट्रिय प्रत्यायन र मानक अंशङ्कन हासिल गर्न विदेशी संस्थासँग सहकार्य गर्ने बाटो खोलिएको छ। अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला बनाउन नेपालका लागि यो अत्यन्त आवश्यक पक्ष हो।

बौद्धिक सम्पत्ति र स्थानीय समुदायको लाभ बाँडफाँटसम्बन्धी प्रावधान पनि उल्लेखनीय छ। सार्वजनिक वित्तपोषणबाट सिर्जित बौद्धिक सम्पत्तिको स्वामित्व अनुसन्धानकर्ता वा संस्थामा रहने प्रस्ताव छ। जैविक वा आनुवंशिक स्रोत तथा परम्परागत ज्ञानमा आधारित अनुसन्धानबाट प्राप्त व्यावसायिक लाभको कम्तीमा ३० प्रतिशत सम्बन्धित स्थानीय समुदायलाई दिने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

नियमावलीको सबैभन्दा गम्भीर कमजोरी केन्द्रको स्वायत्ततासम्बन्धी प्रश्न हो। यदि केन्द्र अनुसन्धानको स्वतन्त्र निर्णय गर्न नसक्ने, बजेट सञ्चालनमा मन्त्रालयमा अत्यधिक निर्भर हुने र वैज्ञानिक नेतृत्वभन्दा प्रशासनिक संरचनाबाट निर्देशित हुने हो भने यसको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता कमजोर हुनेछ। प्रस्तावित संरचनामा कोषको खाता सञ्चालनसमेत मन्त्रालयका अधिकारीहरूको संयुक्त दस्तखतबाट हुने व्यवस्था देखिन्छ। यस्तो व्यवस्थाले केन्द्रको प्रमुख कार्यकारी नेतृत्वलाई जिम्मेवारी त दिन्छ, तर आवश्यक संस्थागत अधिकार भने नदिन सक्छ।

केन्द्रलाई ‘शक्तिशाली’ बनाउने हो भने केवल प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेर पुग्दैन। केन्द्रलाई बहुवर्षीय बजेट, अनुसन्धान प्राथमिकता निर्धारण गर्ने अधिकार, वैज्ञानिक जनशक्ति नियुक्ति गर्ने स्वतन्त्रता, अन्तर्राष्ट्रिय साझेदारी गर्ने अधिकार र अनुसन्धान अनुदान वितरणमा स्पष्ट वैज्ञानिक स्वायत्तता आवश्यक हुन्छ। मन्त्रालयले नीति, नियमन र जवाफदेहिताको भूमिका लिनुपर्छ; दैनिक अनुसन्धान व्यवस्थापन केन्द्रले गर्नुपर्छ।

नियमावलीमा देखिएको अर्को समस्या संस्थागत दोहोरोपन हो। नेपालमा विश्वविद्यालयका अनुसन्धान निर्देशनालय, नास्ट, रिसर्च सेन्टर, प्रयोगशाला र विभिन्न मन्त्रालयअन्तर्गतका अनुसन्धान संरचना पहिल्यै छन्। नयाँ केन्द्रले तिनै काम दोहोर्‍याउने हो भने स्रोतको विभाजन मात्र हुनेछ। नयाँ केन्द्रले विद्यमान संस्थाहरूलाई विस्थापित गर्ने होइन, तिनलाई जोड्ने राष्ट्रिय अनुसन्धान प्लेटफर्मका रूपमा काम गर्नुपर्छ।

प्रविधि हस्तान्तरणको क्षेत्रमा पनि स्पष्ट कार्यविभाजन आवश्यक छ। प्रस्तावित नियमावलीले प्रविधि हस्तान्तरण र व्यवसायीकरणका लागि छुट्टै समिति बनाउने व्यवस्था गरेको छ। यस समितिले राष्ट्रिय मापदण्ड, रोयल्टी, मूल्याङ्कन र सम्झौताको ढाँचा सम्बन्धी काम गर्ने प्रस्ताव छ। तर एउटै क्षेत्रमा विभिन्न मन्त्रालय र निकायको अधिकार दोहोरिएमा निर्णय प्रक्रिया झन् जटिल हुन सक्छ। त्यसैले ‘कसले नीति बनाउने, कसले नियमन गर्ने, कसले लगानी गर्ने र कसले व्यवसायीकरण गर्ने’ भन्ने जिम्मेवारी कानुनी रूपमा स्पष्ट हुनुपर्छ।

नेपाललाई अनुसन्धान केन्द्र चाहिएको छ, तर केवल अर्को सरकारी संस्था होइन। नेपाललाई वैज्ञानिक स्वतन्त्रता, दीर्घकालीन लगानी, अन्तर्राष्ट्रिय सहकार्य, उत्कृष्ट जनशक्ति, उच्चस्तरीय प्रयोगशाला र उद्योगसँग प्रत्यक्ष सम्बन्ध भएको राष्ट्रिय अनुसन्धान प्रणाली चाहिएको छ।

सीईआरएनले अन्तर्राष्ट्रिय सहकार्य र साझा पूर्वाधारको शक्ति देखाउँछ; म्याक्स प्लांकले वैज्ञानिक स्वायत्तताको महत्व सिकाउँछ; फ्राउनहोफरले अनुसन्धानलाई उद्योग र बजारसँग जोड्ने बाटो देखाउँछ; एनआईएचले विषयगत संस्थागत विशेषज्ञता र दीर्घकालीन सार्वजनिक अनुसन्धान लगानीको उदाहरण दिन्छ; रिकेनले विशिष्टीकृत केन्द्र, ठूलो अनुसन्धान पूर्वाधार र अन्तरविषयक अनुसन्धानलाई एउटै राष्ट्रिय प्रणालीमा जोड्ने अभ्यास प्रस्तुत गर्छ।

यसकारण नेपालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन केन्द्र स्थापना गर्दा पहिलो प्राथमिकता ‘केन्द्र बनाउने’ होइन, ‘केन्द्रलाई कस्तो अधिकार, स्रोत, वैज्ञानिक स्वतन्त्रता र जवाफदेहिता दिने’ हुनुपर्छ। अनुसन्धानको पैसा वितरण गर्ने कार्यालयभन्दा अनुसन्धानको राष्ट्रिय मेरुदण्ड बन्ने संस्थाको आवश्यकता छ।

सफल अनुसन्धान केन्द्रको मापन भवन, कर्मचारी संख्या वा बजेटबाट होइन-कति नयाँ ज्ञान उत्पादन भयो, कति प्रविधि विकास भयो, कति पेटेन्ट र प्रोटोटाइप बने, कति उद्योगमा प्रविधि हस्तान्तरण भयो, कति अन्तर्राष्ट्रिय अनुसन्धानमा नेपाली वैज्ञानिक नेतृत्वमा पुगे र त्यसबाट नागरिक तथा अर्थतन्त्रले कति प्रत्यक्ष लाभ पाए भन्ने आधारमा हुनुपर्छ। प्रस्तावित नियमावलीले यी दिशामा केही आधार तयार गरेको छ, तर यसको वास्तविक सफलता स्वायत्तता, संस्थागत समन्वय, प्रतिस्पर्धात्मक वित्तपोषण र वैज्ञानिक नेतृत्व सुनिश्चित गर्न सकिन्छ कि सकिँदैन भन्नेमा निर्भर हुनेछ।

 

प्रधानमन्त्री बालेनका १५० दिन

काठमाडौं। परम्परागत राजनीतिक शक्तिलाई चुनौती दिँदै सत्ताको नेतृत्वमा पुगेका प्रधानमन्त्री बालेन्द्र शाहले कार्यभार सम्हालेको १५० दिन पूरा भएको छ ।

नयाँ पुस्ताको आशा, पुरानो राजनीतिक शैलीप्रतिको असन्तुष्टि र परिवर्तनको नारासहित उदाएका शाहका लागि सुरुवाती पाँच महिना भने अपेक्षाकृत सहज देखिएनन् ।

र्‍यापर, स्ट्रक्चरल इन्जिनियर हुँदै काठमाडौं महानगरपालिकाको मेयर बनेर राष्ट्रिय राजनीतिमा प्रवेश गरेका शाहलाई धेरैले नयाँ राजनीतिक पुस्ताको प्रतिनिधिका रूपमा हेरेका थिए । चारपटक प्रधानमन्त्री भइसकेका केपी शर्मा ओलीलाई उनकै गृहजिल्ला झापामा पराजित गरेपछि शाहको राजनीतिक उभार अझ बलियो बनेको थियो ।

उनको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा उल्लेख्य सफलता हासिल गर्‍यो । पुराना दलप्रतिको वितृष्णा र नयाँ विकल्पको खोजीमा रहेको मतको ठूलो हिस्सा रास्वपातर्फ आकर्षित भयो । तर, सत्तारोहणको पाँच महिना नपुग्दै त्यही परिवर्तनको अपेक्षामाथि प्रश्न उठाउने अवस्था सिर्जना हुन थालेको छ ।

सरकारको कामकारबाहीप्रति सडकबाटै असन्तुष्टि देखिन थालेको छ । प्रधानमन्त्रीको आफ्नै पार्टीसँगको सम्बन्ध, संसद्मा उनको उपस्थिति, भारतसँगको सम्बन्ध, आन्तरिक सुरक्षा तथा विभिन्न नीतिगत विषयले सरकारमाथिको दबाब बढाउँदै लगेका छन् ।

शाह नेतृत्वको सरकारका लागि सुरुवाती चुनौतीमध्ये भारतसँगको सम्बन्ध पनि प्रमुख रह्यो । भारतीय बजारबाट आयात हुने वस्तुसँग सम्बन्धित कडा भन्सार व्यवस्था लागू गर्ने सरकारी निर्णयले आपूर्ति प्रणालीमा असर परेको भन्दै आलोचना भयो । विरोध बढेपछि सरकार निर्णयबाट पछि हट्न बाध्य भयो ।

त्यसपछि नेपाल–भारत सीमा विवादसँग सम्बन्धित प्रधानमन्त्री शाहको अभिव्यक्तिले अर्को विवाद जन्मायो । संसदीय छलफलका क्रममा उनले नेपालले पनि भारतीय भूमि मिचेको र सीमासम्बन्धी ऐतिहासिक नक्सामा बेलायती औपनिवेशिक प्रभाव रहेको आशयको धारणा राखे ।

शाहको भनाइलाई लिएर नेपालभित्रै आलोचना भयो भने भारतले सम्बन्धित भूभाग आफ्नो प्रशासनमा रहेको पुरानै अडान दोहोर्‍यायो । विवाद बढेपछि परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्ति स्थानीय तहका सीमा तथा दसगजासम्बन्धी समस्यातर्फ केन्द्रित रहेको स्पष्टीकरण दिनुपर्‍यो ।

घटनाले सरकारको कूटनीतिक शैली र संवेदनशील विषयमा प्रधानमन्त्रीले अपनाउनुपर्ने भाषाशैलीबारे बहस भने चर्काइदियो ।

यही अवधिमा रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणले पनि राजनीतिक वृत्तमा विशेष चर्चा पायो । भारतीय जनता पार्टीको निमन्त्रणामा नयाँ दिल्ली पुगेका लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह तथा विदेशमन्त्री एस जयशंकरलगायतसँग भेटवार्ता गरे ।

रास्वपाकै सभापति लामिछानेले भारतमा उच्चस्तरीय भेटवार्ता गरिरहेका बेला प्रधानमन्त्री शाहको कूटनीतिक सक्रियतालाई लिएर तुलना हुन थाल्यो । सुरुवाती चरणमा विदेशी कूटनीतिज्ञसँगको भेटमा सावधानी अपनाउँदै आएका शाहले पछि भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गरे ।

यसलाई कतिपयले प्रधानमन्त्रीको प्रारम्भिक ‘आउटसाइडर’ शैलीमा आएको परिवर्तनका रूपमा समेत व्याख्या गरे ।

सरकारका लागि सबैभन्दा संवेदनशील चुनौती भने सडकबाट उठेको असन्तुष्टि बनेको छ । पार्किङ विवादका क्रममा राइड–सेयर चालक गणेश नेपालीले आत्मदाह गरेपछि सरकारको कार्यशैलीमाथि प्रश्न उठ्यो । त्यसपछि पुनर्वासको पर्याप्त प्रबन्ध नगरी बस्ती हटाउने अभियान अघि बढाइएको भन्दै सरकार आलोचनाको घेरामा पर्‍यो ।

शाहको समर्थनमा सडकमा देखिने गरेको युवा पुस्ताकै एक हिस्साले सरकारविरुद्ध प्रदर्शन गर्न थालेपछि त्यसको राजनीतिक सन्देश झन् गम्भीर देखियो । माइतीघरमा भएका प्रदर्शनमा सरकारको कार्यशैलीमाथि चर्को आलोचना भयो ।

यसैबीच सुनसरी र सिरहामा भएका साम्प्रदायिक तनाव तथा झडपले सरकारमाथिको दबाब थप बढायो । घटनामा मानवीय क्षति भएपछि सुरक्षा व्यवस्थापनमा सरकारको तयारी र घटनाप्रतिको प्रतिक्रियालाई लिएर प्रश्न उठे ।

प्रधानमन्त्री शाहले टेलिभिजन सम्बोधनमार्फत शान्ति कायम गर्न आग्रह गर्दै घटनाको छानबिन गर्ने प्रतिबद्धता जनाए । तर, सरकारको प्रतिक्रिया समयमै र प्रभावकारी हुन नसकेको आलोचना पनि सुनियो ।

प्रधानमन्त्री शाहको संसद् उपस्थितिसमेत विवादको विषय बनेको छ । उपलब्ध विवरणअनुसार प्रतिनिधिसभाका ३९ बैठकमध्ये उनी पाँचवटा बैठकमा मात्रै सहभागी भएका छन् ।

संसद् सरकारलाई जवाफदेही बनाउने प्रमुख संवैधानिक थलो भएकाले प्रधानमन्त्रीको न्यून उपस्थितिलाई विपक्षी सांसदहरूले आलोचनाको विषय बनाएका छन् । कतिपय अवस्थामा सभामुखले समेत प्रधानमन्त्रीको अनुपस्थितिप्रति ध्यानाकर्षण गराउनुपर्ने अवस्था आएको थियो ।

सरकारको नीति तथा निर्णयबारे संसद्मा प्रत्यक्ष जवाफ दिने जिम्मेवारी प्रधानमन्त्रीकै हुने भएकाले उनको न्यून उपस्थितिले राजनीतिक जवाफदेहितामाथि प्रश्न उठाएको विपक्षीहरूको तर्क छ ।

प्रधानमन्त्री शाह र उनी आबद्ध रास्वपाबीचको सम्बन्धलाई लिएर समेत पछिल्लो समय चर्चा बढेको छ ।

रास्वपाको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर पार्टीभित्रै प्रश्न उठ्यो । पार्टीको महत्वपूर्ण बैठकलाई प्राथमिकता नदिई उनी पोखरा–मुस्ताङतर्फ गएको विषयले प्रधानमन्त्री र पार्टी संगठनबीचको दूरीबारे बहस जन्मायो ।

पार्टीभित्रका केही नेताले शाहको राजनीतिक कार्यशैली तथा पार्टी संगठनप्रतिको दृष्टिकोणमाथि प्रश्न उठाउँदै आएका छन् । शाहको लोकप्रियता व्यक्तिगत राजनीतिक प्रभावको परिणाम हो कि पार्टीको संस्थागत जनादेशको बलमा बनेको हो भन्ने बहससमेत रास्वपाभित्र देखिन थालेको छ ।

१५० दिनअघि शाहको सत्तारोहणलाई नेपाली राजनीतिमा पुस्तान्तरणको संकेतका रूपमा हेरिएको थियो । पुराना दल र स्थापित नेतृत्वप्रतिको असन्तुष्टिबाट जन्मिएको जनमतले नयाँ शक्तिलाई सत्तामा पुर्‍याएको थियो ।

तर, पाँच महिनाको अवधिमा सरकार नीतिगत विवाद, कूटनीतिक प्रश्न, सडक असन्तुष्टि, सामाजिक तनाव, संसद्मा प्रधानमन्त्रीको न्यून उपस्थिति र पार्टीभित्रको दूरीजस्ता चुनौतीमा फस्दै गएको देखिन्छ।

स्टोक्सको छायाबाट बाहिरिँदै इंग्ल्यान्ड, रुटको नेतृत्वमा नयाँ सुरुवात

काठमाडौं। इंग्ल्यान्डको टेस्ट क्रिकेटका लागि पछिल्लो समय सहज भएन। मैदानभित्रको प्रदर्शनदेखि कप्तानी, प्रशिक्षक, अनुशासन र टोलीको आन्तरिक वातावरणसम्मका विभिन्न घटनाले इंग्ल्यान्डको टेस्ट टोलीलाई निरन्तर चर्चामा राखे। एकपछि अर्को विवाद र निर्णयका कारण टोलीले स्थिरता गुमाएको देखिन्थ्यो।

कप्तान बेन स्टोक्स अनुशासनसम्बन्धी विवादमा परेपछि टेस्ट क्रिकेटबाट अप्रत्याशित रूपमा अलग भए। त्यसपछि टेस्ट टोलीका प्रशिक्षक ब्रेन्डन म्याककुलमलाई पनि उक्त भूमिकाबाट हटाउने निर्णय भयो। केही समयअघिसम्म दुवैलाई निरन्तरता दिने संकेत दिइए पनि परिस्थितिले अचानक मोड लियो।

यसले इंग्ल्यान्डको टेस्ट क्रिकेटमा लामो समयदेखि चल्दै आएको आक्रामक शैली अर्थात् ‘बाजबल’को भविष्यबारे समेत प्रश्न उठायो। म्याककुलम र स्टोक्सको नेतृत्वमा इंग्ल्यान्डले आक्रामक र जोखिमपूर्ण क्रिकेटलाई आफ्नो पहिचान बनाएको थियो। तर पछिल्ला केही महत्वपूर्ण खेलमा त्यस शैलीले अपेक्षित परिणाम दिन नसक्दा त्यसको समीक्षा हुन थाल्यो।

अहिले इंग्ल्यान्डको टेस्ट टोलीको नेतृत्व जो रुटले सम्हालिरहेका छन्। रुटका लागि यो जिम्मेवारी नयाँ होइन, तर यसपटक परिस्थिति फरक छ। विगतमा कप्तानी गरिसकेका रुटले अब स्टोक्सको प्रभावबाट बाहिर निस्किएको टोलीलाई नयाँ दिशामा अघि बढाउनुपर्ने चुनौती सामना गरिरहेका छन्।

इंग्ल्यान्डको पछिल्लो समयको यात्रा हेर्दा समस्या एउटा घटनामा मात्र सीमित थिएन। मैदानमा खराब नतिजा, खेलाडीको अनुशासनसम्बन्धी विवाद र नेतृत्वमा आएको परिवर्तनले टोलीमाथि थप दबाब सिर्जना गर्‍यो।

स्टोक्सको कप्तानीमा इंग्ल्यान्डले टेस्ट क्रिकेटलाई आक्रामक र मनोरञ्जनात्मक बनाएको थियो। तर अस्ट्रेलियाविरुद्धको एसेजमा ठूलो पराजयपछि त्यस शैलीमाथि प्रश्न उठ्न थाल्यो। निर्णायक अवस्थामा टोलीले आक्रामक रणनीतिलाई प्रभावकारी रूपमा प्रयोग गर्न नसकेको आलोचना भयो।

पाकिस्तान भ्रमणका क्रममा पनि इंग्ल्यान्डले कठिन परिस्थिति सामना गर्‍यो। स्पिनमैत्री पिचमा संघर्ष गर्नुपरेको मात्र होइन, टोलीभित्रको वातावरणसमेत तनावपूर्ण बनेको थियो। कप्तान स्टोक्समाथि दबाब बढ्दै जाँदा उनको व्यवहार र निर्णयलाई लिएर पनि चर्चा भयो।

यस वर्ष टेस्ट क्रिकेट पुनः सुरु हुनुअघि स्टोक्सले टेस्ट खेलप्रतिको आफ्नो प्रतिबद्धता सार्वजनिक रूपमा व्यक्त गरेका थिए। तर लामो अन्तरालपछि खेलमा फर्किँदा परिस्थिति उनको अपेक्षाअनुसार अघि बढ्न सकेन। एक खेल जितेपछि अर्को चरणमा टोली र नेतृत्व थप दबाबमा परेको देखियो।

स्टोक्स इंग्ल्यान्डका असाधारण क्रिकेटर हुन्। कप्तानका रूपमा उनले कठिन अवस्थामा टोलीलाई आत्मविश्वासका साथ अघि बढाएका थिए। खेलाडीहरूबीच उनको प्रभाव पनि बलियो थियो।

तर टोलीको सम्पूर्ण वातावरण एकै खेलाडीको भावनात्मक उतारचढावमा निर्भर हुनु दीर्घकालीन रूपमा उचित नहुन सक्ने विश्लेषण पनि हुन थालेको छ।

स्टोक्स मैदानमा अत्यन्त भावुक र प्रतिस्पर्धी खेलाडीका रूपमा परिचित छन्। उनको नेतृत्वले इंग्ल्यान्डलाई आक्रामक मानसिकता दिएको थियो, तर कतिपय अवस्थामा त्यही भावनात्मक शैलीले टोलीमाथि अतिरिक्त दबाबसमेत सिर्जना गरेको देखियो।

अब रुटको नेतृत्वमा टोलीको वातावरण तुलनात्मक रूपमा शान्त र सन्तुलित बन्ने अपेक्षा गरिएको छ। रुट स्वयं पनि कप्तानीका क्रममा विभिन्न उतारचढावबाट गुज्रिसकेका छन्। त्यसैले उनले टोलीलाई अत्यधिक भावनात्मक दबाबभन्दा स्थिरता र परिस्थितिअनुसारको निर्णयमा केन्द्रित गर्न सक्ने अपेक्षा गरिएको छ।

म्याककुलमको नेतृत्वमा इंग्ल्यान्डले टेस्ट क्रिकेटमा नयाँ सोच स्थापित गरेको थियो। परम्परागत रूपमा सावधानीपूर्वक खेल्ने इंग्ल्यान्डले जोखिम लिन थालेको थियो। खेलाडीहरूलाई स्वाभाविक रूपमा खेल्न प्रोत्साहित गरियो र विपक्षीमाथि दबाब सिर्जना गर्ने आक्रामक शैलीलाई प्राथमिकता दिइयो।

यसले छोटो समयमै इंग्ल्यान्डको टेस्ट क्रिकेटको छवि परिवर्तन गर्‍यो। तर समय बित्दै जाँदा त्यस शैलीका सीमाहरू पनि देखिन थाले।

ठूला शृंखला जित्न नसक्नु, निर्णायक क्षणमा अवसर सदुपयोग गर्न नसक्नु तथा केही युवा खेलाडीले अपेक्षाअनुसार विकास गर्न नसक्नुले टोली व्यवस्थापनमाथि प्रश्न उठायो।

त्यसैले अहिलेको चुनौती ‘बाजबल’लाई पूर्ण रूपमा त्याग्नु होइन, त्यसबाट उपयोगी पक्षलाई जोगाउँदै थप लचिलो शैली विकास गर्नु हो। आक्रामकता कायम राखेर परिस्थितिअनुसार रणनीति परिवर्तन गर्न सक्ने टोली निर्माण गर्न इंग्ल्यान्ड अघि बढेको देखिन्छ।

इंग्ल्यान्डको टेस्ट टोलीले अब नयाँ प्रशिक्षक स्टेफन फ्लेमिङसँग काम गर्ने तयारी गरिरहेको छ। फ्लेमिङ आफ्नो रणनीतिक सोच, खेलाडी व्यवस्थापन र परिस्थितिअनुसार योजना बदल्न सक्ने क्षमताका लागि परिचित छन्।

उनको आगमनले इंग्ल्यान्डको टेस्ट टोलीमा अचानक पूर्ण परिवर्तन ल्याउनेभन्दा पनि म्याककुलमको आक्रामक शैलीमा आवश्यक सन्तुलन थप्ने अपेक्षा गरिएको छ।

फ्लेमिङ र म्याककुलमबीच राम्रो सम्बन्ध भएकाले इंग्ल्यान्डको टेस्ट र सीमित ओभरका टोलीबीच समन्वय कायम गर्न पनि सहज हुने अपेक्षा छ। यद्यपि फरक प्रशिक्षकले फरक ढंगले टोली सञ्चालन गर्दा स्रोत, खेलाडी छनोट र रणनीतिमा समन्वय कायम राख्नु चुनौतीपूर्ण हुन सक्छ।

इंग्ल्यान्डको टेस्ट टोलीमा अहिले अर्को सकारात्मक पक्ष खेलाडी छनोटमा देखिएको प्रतिस्पर्धा हो। केही वर्षअघिजस्तो निश्चित खेलाडीलाई लामो समयसम्म निरन्तर अवसर दिनेभन्दा अहिले प्रदर्शनका आधारमा स्थान सुरक्षित गर्नुपर्ने अवस्था देखिएको छ।

जो रुट र ह्यारी ब्रुकजस्ता खेलाडी टोलीका महत्वपूर्ण आधार हुन्। तर अन्य स्थानमा भने खेलाडीबीच कडा प्रतिस्पर्धा देखिन थालेको छ।

पाकिस्तानविरुद्धको खेलमा जोर्डन कक्सले पहिलो क्रममा ब्याटिङ गर्दै आत्मविश्वासपूर्ण प्रदर्शन गरे। उनले बनाएको ७३ रनले टोली व्यवस्थापनलाई थप विकल्प दिएको छ। यसअघि चोटका कारण बाहिर रहेका ज्याकब बेथेल फर्किएपछि मध्यक्रममा स्थानका लागि थप प्रतिस्पर्धा हुने देखिन्छ।

ड्यान लरेन्स र एमिलियो गे जस्ता खेलाडी पनि टोलीमा आफ्नो स्थान स्थायी बनाउन प्रयासरत छन्। त्यसैले आगामी खेलमा खेलाडी छनोट पनि इंग्ल्यान्डका लागि महत्वपूर्ण विषय बन्नेछ।

स्टोक्स टोलीमा नरहेपछि इंग्ल्यान्डको बलिङ संयोजनमा केही चुनौती थपिएको छ। विशेषगरी प्रभावशाली स्पिनरलाई टोलीमा समेट्दै चार जना तीव्र गतिका बलर खेलाउने विषयमा सन्तुलन मिलाउन कठिन हुन सक्छ।

तर घरेलु मैदानको परिस्थितिमा इंग्ल्यान्डको तीव्र बलिङ आक्रमण भने उत्साहजनक देखिएको छ। ओली रोबिन्सनको पुनरागमनले पनि टोलीलाई बलियो बनाएको छ।

रोबिन्सनले आफ्नो फिटनेस र निरन्तरतामा अझै सुधार गर्नुपर्ने भए पनि उनी पूर्ण रूपमा लयमा फर्किएमा इंग्ल्यान्डको तीव्र बलिङ आक्रमणलाई ठूलो फाइदा पुग्न सक्छ।

पछिल्लो समयको सबैभन्दा सकारात्मक पक्ष पाकिस्तानविरुद्धको पहिलो टेस्टमा इंग्ल्यान्डले हासिल गरेको प्रभावशाली जित हो। खेलमा इंग्ल्यान्डको बलिङ आक्रमण प्रभावकारी देखियो र टोलीले छिटो जित निकाल्दै नयाँ नेतृत्वप्रति आशा जगायो।

तर एउटा जितका आधारमा इंग्ल्यान्ड पुनः पूर्ण रूपमा लयमा फर्किएको निष्कर्ष निकाल्न भने हतार हुनेछ। पाकिस्तानले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको अवस्थालाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ।

टेस्ट क्रिकेटबाट अलग भएका स्टोक्सले भविष्यमा पुनः इंग्ल्यान्डको टेस्ट टोलीमा खेल्ने सम्भावनालाई पूर्ण रूपमा बन्द गरेका छैनन्। रुटसँग उनको व्यक्तिगत सम्बन्ध पनि राम्रो भएकाले आगामी एसेजमा उनको सम्भावित पुनरागमनबारे चर्चा चलिरहेको छ।

स्टोक्स अहिले डरहमका लागि खेल्दा तुलनात्मक रूपमा सहज र स्वतन्त्र देखिएका छन्। यसले उनीमाथि परेको मानसिक र नेतृत्वको दबाब केही कम भएको हुन सक्ने अनुमानलाई बल दिएको छ।

इंग्ल्यान्डको टेस्ट टोली अहिले एउटा संक्रमणकालबाट गुज्रिरहेको छ। पुरानो नेतृत्व समाप्त भएको छ, नयाँ प्रशिक्षक आउँदैछन् र टोलीले आक्रामक क्रिकेटको पुरानो पहिचानलाई नयाँ रणनीतिसँग जोड्ने प्रयास गरिरहेको छ।

पछिल्ला केही महिनाका घटनाले इंग्ल्यान्डलाई धेरै पाठ सिकाएको हुन सक्छ। अब चुनौती ती पाठलाई व्यवहारमा लागू गर्नु हो।

रुटको नेतृत्वमा टोलीले स्थिरता, फ्लेमिङको रणनीतिक सोच र खेलाडी छनोटमा देखिएको प्रतिस्पर्धालाई सही रूपमा उपयोग गर्न सके इंग्ल्यान्डले फेरि बलियो टेस्ट टोलीका रूपमा आफूलाई स्थापित गर्न सक्छ।

हिक्मतको पक्षमा ५७ मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेको हो।

मुख्यमन्त्री कार्कीलाई सत्तारुढ नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यहरूले विश्वासको मत दिएका छन्। कोशी प्रदेशसभामा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ जना सदस्य छन्। दुवै दलका सबै सदस्यले मुख्यमन्त्रीको पक्षमा मतदान गरेपछि कार्कीले ५७ मत प्राप्त गरेका हुन्।

मुख्यमन्त्री कार्कीको विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए। प्रदेशसभामा कांग्रेसका २९ सदस्य रहे पनि मतदानमा विपक्षमा २२ मत मात्र परेको छ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेशसभा सदस्यहरूले भने विश्वासको मतसम्बन्धी मतदानमा कुनै पक्षमा मतदान गरेनन्। राप्रपाका सभामुखसहित पाँच जना सदस्य छन्।

जनता समाजवादी पार्टीकी एक्ली प्रदेशसभा सदस्य निर्मला लिम्बु भने मतदानका क्रममा उपस्थित भइनन्।

कोशी प्रदेशसभामा सुरुमा ९३ सदस्य थिए। एक जना प्रदेशसभा सदस्यले राजीनामा दिएपछि हाल प्रदेशसभामा ९२ सदस्य कायम छन्। सोमबारको विश्वासको मतसम्बन्धी बैठकमा भने ८३ जना प्रदेशसभा सदस्य उपस्थित भएका थिए।

उपस्थित प्रदेशसभा सदस्यहरूमध्ये मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत र विपक्षमा २२ मत परेको हो। राप्रपाका सदस्यहरूले मतदान नगरेका कारण बाँकी मत विभाजनमा प्रयोग भएन।

विश्वासको मत पाएसँगै मुख्यमन्त्री कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई तत्कालका लागि राजनीतिक स्थायित्व प्राप्त भएको छ। प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार कार्कीले सदनमा आफ्नो पक्षमा बहुमत जुटाएका हुन्।

एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री कार्कीले बहुमत हासिल गरेका हुन्। विश्वासको मतसँगै प्रदेश सरकार आगामी दिनमा नीति तथा कार्यक्रम, बजेट कार्यान्वयन र प्रदेशका विकास निर्माणका कामलाई अघि बढाउने बाटो थप सहज भएको छ।

कांग्रेस प्रमुख सचेतक थापा र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच शिष्टाचार भेटवार्ता भएको छ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार भएको भेटमा नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, शिक्षा, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको थियो।

भेटमा प्रमुख सचेतक थापाले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्धलाई थप बलियो बनाउन संसदीय तहको सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताइन्। उनले दुवै देशका सांसदबीच नियमित संवाद र अनुभव आदानप्रदान बढाउनुपर्नेमा जोड दिइन्।

थापाले नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूहलाई प्रभावकारी रूपमा परिचालन गरी दुई देशका सांसदबीचको संस्थागत सम्बन्ध विस्तार गर्नुपर्ने बताइन्। साझा हितका विषयमा सहकार्य र पारस्परिक समझदारी बढाउन संसदीय मैत्री समूह महत्वपूर्ण माध्यम बन्न सक्ने उनको भनाइ थियो।

त्यस अवसरमा उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा अष्ट्रेलियाले लामो समयदेखि गर्दै आएको सहयोगको प्रशंसा गरिन्। विशेषगरी अष्ट्रेलिया अवार्ड स्कलरसिप, क्षमता अभिवृद्धि तथा तालिमका अवसरमार्फत नेपालको मानव संसाधन विकासमा अष्ट्रेलियाले पुर्‍याएको योगदानप्रति उनले आभार व्यक्त गरिन्।

थापाले उच्च शिक्षाका लागि अष्ट्रेलिया नेपाली विद्यार्थीको प्रमुख गन्तव्य रहेको उल्लेख गर्दै अष्ट्रेलियामा अध्ययनरत विद्यार्थी तथा त्यहाँ बसोबास गर्ने नेपाली समुदायले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताइन्।

भेटमा थापाले राजदूत अन्स्र्टमार्फत अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकप्रति हार्दिक अभिवादन तथा शुभकामना व्यक्त गरिन्।

भेटवार्तामा राजदूत अन्स्र्टले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउन संसदीय सहकार्य र जनस्तरीय सम्बन्ध महत्वपूर्ण रहेको बताए। उनले शिक्षा, मानव संसाधन विकास तथा संसदीय सहकार्यलगायतका क्षेत्रमा हुँदै आएको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्न अष्ट्रेलियाका तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

संसदमा आज : बलात्कारीलाई कडा सजाय दिने कानुन बनाउन सांसदहरूको जोड

काठमाडौं। प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले बलात्कार तथा जघन्य अपराधमा संलग्नलाई मृत्युदण्डसम्मको सजाय हुने गरी कानुन बनाउनुपर्ने माग गरेका छन्।

तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर सांसदहरूले सरकारको ध्यानाकर्षण गराउँदै विद्यमान कानुन पर्याप्त नभएको टिप्पणी गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले नेपालभित्र मात्रै नभई विदेशमा समेत नेपाली छोरीहरू असुरक्षित भइरहेको बताए । उनले जापानमा हत्या भएकी झापाकी २५ वर्षीया लक्ष्मी राजवंशी तथा हल्दीबारीकी १२ वर्षीया रेबिका विश्वकर्माको अवस्थासमेत संसद्मा उठाए ।

‘स्वदेशमा होस् वा विदेशमा, हाम्रा छोरीहरू जताततै असुरक्षित छन्,’ उनले भने, ‘आखिर हाम्रा छोरीहरू कहिलेसम्म लक्ष्मी राजवंशी, निर्मला पन्त र गरिमा चौधरी बन्नुपर्ने हो ?’

पाठकले अपराध नियन्त्रणका लागि नीति र कानुनमै कमजोरी छ कि छैन भनेर पुनरावलोकन गर्नुपर्ने बताए । संविधानले सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरे पनि त्यसको अर्थ अपराधीलाई संरक्षण गर्नु नभएको उनको तर्क थियो ।

उनले बलात्कारी र हत्यारालाई कठोर सजाय नदिएसम्म यस्ता घटना दोहोरिरहने भन्दै मृत्युदण्डको व्यवस्था गर्न संसद्ले पहल गर्नुपर्ने धारणा राखे ।

नेपालको संविधान तथा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धतासँग मृत्युदण्डको व्यवस्था बाझिने भए पनि त्यसलाई संशोधन गर्ने राजनीतिक क्षमता संसद्ले देखाउनुपर्ने उनको भनाइ थियो ।

‘अब हत्यारा र बलात्कारीलाई राज्यले जेलमा राखेर रासन खुवाउने होइन,’ उनले भने, ‘अपराध प्रमाणित भए मृत्युदण्ड दिने कानुन तत्काल बनाउनुपर्छ ।’

बैठकमा रास्वपाकी सांसद रञ्जु दर्शनाले भने अपराध नियन्त्रणका लागि कानुनी सजायसँगै सामाजिक र शैक्षिक सुधारमा जोड दिइन् । उनले विद्यालय तहदेखि नै समग्र यौनशिक्षा अनिवार्य बनाउनुपर्ने माग दोहोर्‍याइन् ।

नेपाली कांग्रेसकी सांसद शाहजान खातुनले गरिमा चौधरीको घटनासहित समाजमा भइरहेका यौन हिंसा र हत्याका घटनाप्रति सरकार गम्भीर हुनुपर्ने बताइन् । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले सरकारसँग घटनाबारे जवाफ माग्दै कठोर सजायको व्यवस्था गर्न आग्रह गरिन् ।

रास्वपा सांसद हरिमोहन भण्डारीले गम्भीर तथा जघन्य अपराधमा संलग्नलाई राज्यले संरक्षण गरेर राख्न नहुने बताए । अपराध नियन्त्रणका लागि आवश्यक कानुन बनाउन आफूहरू तयार रहेको भन्दै उनले सरकारलाई कडा विधेयक ल्याउन आग्रह गरे ।

रास्वपा सांसद खुश्बु ओलीले पनि अहिलेको बहस बलात्कारीलाई कति वर्ष जेल सजाय दिने भन्नेमा सीमित नरहेको बताइन् । उनले मृत्युदण्ड किन नदिने भन्ने विषयमा बहस हुनुपर्ने धारणा राखिन् ।

त्यस्तै रास्वपा सांसद आशिका तामाङले बलात्कारजस्तो जघन्य अपराधमा सकेसम्म फाँसीको व्यवस्था गर्नुपर्ने माग गरिन् । उनले मृत्युदण्ड सम्भव नभए पनि अपराधको प्रकृतिअनुसार अत्यन्तै कठोर सजायको व्यवस्था गर्नुपर्ने बताइन् ।

सांसदहरूले गरिमा चौधरीको घटनालाई एउटा परिवारको पीडाका रूपमा मात्रै नहेरी मुलुकको सुरक्षा, कानुनी व्यवस्था र सामाजिक चेतनासँग जोडेर समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

अबदेखि साउन १ मै मौद्रिक नीति ल्याउने तयारी

काठमाडौं। नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति अब आर्थिक वर्ष सुरु भएकै दिन सार्वजनिक गर्ने व्यवस्था मिलाउने तयारी भएको छ ।

प्रतिनिधिसभाको अर्थ समितिमा सोमबार भएको छलफलका क्रममा साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्नेगरी व्यवस्था गर्न सहमति जुटेको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्दा बजेट सार्वजनिक गर्ने मिति निश्चित भएजस्तै मौद्रिक नीति जारी गर्ने मितिसमेत कानुनी रूपमा स्पष्ट पार्ने विषयमा सहमति बनेको हो ।

अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले बैठकमा मौद्रिक नीति सार्वजनिक गर्ने मिति साउन १ गते तोक्नेगरी प्रक्रिया अघि बढेको जानकारी दिए ।

छलफलका क्रममा वित्तीय क्षेत्रसँग सम्बन्धित अन्य केही प्रावधानमा पनि आवश्यक संशोधनसहित प्रस्तावहरू पारित गरिएको समितिले जनाएको छ ।

बैठकमा नेपाल बैंकर्स संघ तथा विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले नेपाल राष्ट्र बैंक ऐनको दफा १०० मा रहेको व्यवस्थाप्रति गम्भीर आपत्ति जनाउँदै संशोधनको माग गरेको विषय पनि उठेको थियो ।

बैंकरहरूले सामान्य प्रकृतिको कारबाहीलाई समेत आधार बनाएर बैंकका प्रमुखलाई अयोग्य घोषणा गर्न सकिने व्यवस्था रहेको भन्दै उक्त प्रावधानप्रति असन्तुष्टि जनाएका छन् ।

उनीहरूले नेपाल राष्ट्र बैंक ऐनसँगै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया)मा रहेका सम्बन्धित प्रावधान संशोधन गर्न लिखित तथा मौखिक रूपमा समितिको ध्यानाकर्षण गराएका थिए ।

तर, अहिले छलफलमा रहेको विधेयकमा दफा १०० संशोधनका लागि समेटिएको विषय नभएकाले तत्काल त्यसलाई संशोधन गर्न नसकिएको सभापति बुढाथोकीले स्पष्ट पारे ।

उनका अनुसार सांसदहरूले समेत यस विषयमा संशोधन प्रस्ताव राखेका थिए । तर, विधेयकको विषय क्षेत्रभन्दा बाहिर गएर दफा संशोधन गर्न कानुनी प्रक्रिया बाधक बनेको हो ।

बुढाथोकीले संसद्को नियमावलीमा रहेको व्यवस्थाले विधेयकसँग प्रत्यक्ष सम्बन्ध नभएको विषयमा संशोधन गर्न रोक्ने भएकाले दफा १०० को विषय तत्काल टुंग्याउन प्राविधिक समस्या रहेको बताए ।

नियमावलीको नियम ११३ मा विधेयकमा प्रस्ताव गरिने संशोधन विधेयकको विषयसँग सम्बन्धित, त्यसको मूल सिद्धान्तसँग मेल खाने र स्पष्ट हुनुपर्ने व्यवस्था रहेको उनले स्मरण गराए ।

सभापति बुढाथोकीका अनुसार सभामुख, अर्थमन्त्री र अन्य सरोकारवाला पक्षबाट समेत दफा १०० को विषयमा चासो व्यक्त भएको छ । त्यसैले यसलाई आगामी प्रक्रियामा थप छलफलमार्फत सम्बोधन गर्ने तयारी छ ।

समितिले मौद्रिक नीति सार्वजनिक गर्ने समयलाई निश्चित गर्नुका साथै बैंकिङ तथा वित्तीय क्षेत्रका कानुनी जटिलता समाधान गर्न आवश्यक छलफल अघि बढाउने जनाएको छ ।

साउन १ मै मौद्रिक नीति सार्वजनिक गर्ने व्यवस्था कार्यान्वयनमा आएमा आगामी आर्थिक वर्षको बजेटसँगै मौद्रिक नीतिको समयतालिका पनि थप पूर्वानुमानयोग्य हुने अपेक्षा गरिएको छ।

बजेटको असफलता पहिलो महिनामै देखिएको सांसद सङ्ग्रौलाको आरोप

काठमाडौं। श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले सरकारको आर्थिक नीति र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनप्रति प्रश्न उठाउँदै यसको कमजोरी सुरुवाती महिनामै देखिन थालेको दाबी गरेकी छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बैंकिङ प्रणालीमा पर्याप्त रकम उपलब्ध भए पनि निजी क्षेत्रले कर्जा लिएर लगानी गर्न उत्साह नदेखाएको विषयलाई सरकारप्रतिको आर्थिक विश्वाससँग जोडिन् ।

उनका अनुसार बैंकमा ऋण दिन सक्ने अवस्था हुँदाहुँदै व्यवसायी लगानीका लागि अघि नबढ्नु सामान्य वित्तीय समस्या मात्र नभई सरकारको नीतिप्रति निजी क्षेत्र विश्वस्त हुन नसकेको संकेत हो ।

सङ्ग्रौलाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि समेत व्यंग्य गर्दै बाह्य मुलुकको अनुभव भए पनि नेपालको अर्थतन्त्रको वास्तविक अवस्था बुझ्न नसकेको आरोप लगाइन् ।

‘अर्थमन्त्रीज्यूले ३६ देश चिन्नुभएको भनेर सत्तापक्षका माननीयहरू भन्नुहुन्छ,’ उनले संसद्मा भनिन्, ‘तर ३६ देश चिने पनि आफ्नै देशलाई चिन्न सक्नुभएन । उहाँले ल्याएको बजेटको असफलता पहिलो महिना सकिँदै देखिन थाल्यो ।’

उनले नेपालको अर्थतन्त्रमा अहिले देखिएका समस्या गम्भीर रहेको दाबी गर्दै सरकारको आर्थिक व्यवस्थापनमाथि समेत प्रश्न उठाइन् ।

सांसद सङ्ग्रौलाले वर्तमान सरकार गठन भएयता पुँजीबजारमा ठूलो रकम घटेको दाबी पनि गरिन् । उनका अनुसार करिब ६ खर्ब रुपैयाँ बराबरको पुँजीबजार मूल्य घटिसकेको छ ।

पुँजीबजारको समस्या समाधानतर्फ पर्याप्त ध्यान दिनुको साटो अर्थमन्त्री अन्य विषयमा केन्द्रित भएको आरोप लगाउँदै उनले सरकारलाई आर्थिक क्षेत्र सुधारमा गम्भीर बन्न आग्रह गरिन् ।

उनले बैंकिङ प्रणालीमा रहेको तरलतालाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न नसक्नु सरकारको आर्थिक नीतिको प्रमुख कमजोरी भएको बताइन् । लगानीको वातावरण निर्माण गर्न नसके अर्थतन्त्रमा रहेको पैसा बैंकमै थन्किएर बस्ने र त्यसको प्रत्यक्ष असर आर्थिक गतिविधिमा पर्ने उनको भनाइ थियो ।

सरकारसँग संसद्मा बलियो बहुमत भए पनि आर्थिक क्षेत्रमा जनविश्वास सिर्जना गर्न नसकेको सङ्ग्रौलाको आरोप छ । उनले बजेटका लक्ष्य पूरा गर्न निजी क्षेत्रको विश्वास जित्ने गरी नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

गरिमा हत्या प्रकरणमा नयाँ मोड : अभियुक्तको भिडियो भाइरल गर्ने हवल्दार पक्राउ

बारा। तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान गरिरहेका प्रहरी नै विवादमा तानिएका छन् । अभियुक्त किशोरको बयान खिचेर सामाजिक सञ्जालमा पुर्‍याएको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रहरी हवल्दार कुमार विक रहेको स्रोतले जनाएको छ । उनलाई हिरासतमा राखेर फौजदारी कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिएका छन् ।

गरिमा हत्याको अनुसन्धानकै क्रममा अभियुक्तको बयानको भिडियो खिचिएको थियो । प्रहरीको अनुसन्धानमा रहेको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीमाथि नै प्रश्न उठेको थियो । अनुसन्धानको गोपनीयता तोडेर भिडियो कसरी बाहिरियो भन्ने विषयमा प्रहरी प्रधान कार्यालयदेखि मधेश प्रदेश प्रहरी कार्यालयसम्मले चासो देखाएका थिए ।

भिडियो खिच्ने क्रममा पाँच जना प्रहरी देखिएको बताइएको छ । विक पक्राउ परे पनि अन्य प्रहरीको भूमिकामाथि समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अभियुक्तको बयान रेकर्ड गर्ने अधिकार, भिडियो खिच्नुको उद्देश्य, भिडियो कसरी प्रहरीको नियन्त्रणबाहिर पुग्यो र त्यसलाई सामाजिक सञ्जालमा पुर्‍याउने व्यक्ति को हो भन्ने विषय अहिले अनुसन्धानको घेरामा छ ।

गरिमा प्रकरणमा सामाजिक सञ्जालमा फैलिएको भिडियोले अपराध अनुसन्धानलाई समेत नयाँ मोड दिएको छ ।

भिडियोमा देखिएको बयानका आधारमा प्रहरीले थप एक नाबालकलाई नियन्त्रणमा लिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–२ का १४ वर्षीय प्रदीप खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार यसअघि पक्राउ परेका सुमन थापाले बयानका क्रममा प्रदीपको नाम लिएका थिए । घटनामा उनको भूमिका रहेको दाबी बयानमा आएपछि प्रहरीले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

खड्कालाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको छ । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टका अनुसार उनको भूमिकाबारे थप अनुसन्धान भइरहेको छ ।

यससँगै गरिमा चौधरी हत्याकाण्डमा पक्राउ पर्नेहरूको संख्या नौ पुगेको छ । तर, पक्राउ परेका सबैको भूमिका एउटै हो भन्ने निष्कर्षमा प्रहरी पुगेको छैन ।

गरिमाको शव फेला परेपछि प्रहरीले सुरुमा सुमन थापा र प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा प्राप्त सूचना, बयान र प्रमाणका आधारमा थप व्यक्तिहरू नियन्त्रणमा लिइएका हुन् ।

पीडित परिवारले दिएको पूरक जाहेरीपछि प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको थियो । पछिल्लो समय सुमनको बयानमा नाम आएपछि प्रदीपसमेत प्रहरीको नियन्त्रणमा परेका हुन् ।

घटनामा बालिकामाथि सामूहिक बलात्कार भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । तर, अनुसन्धान पूरा नभएसम्म यसबारे अन्तिम निष्कर्षमा पुग्न नसकिने प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरूको बयान, घटनास्थलबाट प्राप्त भौतिक प्रमाण तथा प्राविधिक अनुसन्धानलाई आधार बनाएर प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउने प्रयास गरिरहेको छ ।

गरिमा प्रकरणमा दोषी पत्ता लगाउने जिम्मेवारी पाएको प्रहरी नै अभियुक्तको भिडियो बाहिरिएको विषयमा अनुसन्धानको घेरामा परेपछि घटनाले अर्को रूप लिएको छ ।

अनुसन्धानकै क्रममा रहेका नाबालकको बयानको भिडियो सार्वजनिक हुनु सामान्य विषय होइन । यसले अनुसन्धानको गोपनीयता, अभियुक्तको अधिकार र प्रहरीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ ।

प्रतिनिधिसभामा समेत सांसदहरूले यही विषय उठाइसकेका छन् । अनुसन्धानको सामग्री कसरी बाहिरियो, कसले खिच्यो र कसले सार्वजनिक गर्‍यो भन्ने विषयमा तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

‘पकेटमार र बलात्कारीलाई एउटै कारागारमा राखेर सजाय दिन मिल्दैन’[भिडियाे]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद श्रद्धा कुँवरले सबै अपराधलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताउँदै अपराधको प्रकृति र गम्भीरताअनुसार सजायको व्यवस्था गर्नुपर्ने माग गरेकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कुँवरले विशेषगरी बलात्कार तथा जघन्य महिला हिंसाका घटनामा संलग्न प्रमाणित अपराधीलाई कडा कानुनी कारबाहीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्। उनले गम्भीर प्रकृतिका अपराधमा संलग्न व्यक्तिले कानुनको सजायप्रति बलियो डर महसुस गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताइन्।

कुँवरले एउटा सामान्य अपराधमा संलग्न व्यक्ति र जघन्य हिंसात्मक अपराधमा दोषी ठहरिएको व्यक्तिलाई एउटै किसिमको व्यवहार गरेर न्यायको उद्देश्य पूरा नहुने तर्क गरिन्। उनले उदाहरण दिँदै भनिन्, ‘एउटा पाकेटमारलाई र एउटा बलात्कारीलाई एउटै कारागारमा राखेर सजाय दिन मिल्दैन।’

उनका अनुसार अपराधको प्रकृति, त्यसबाट पीडित व्यक्ति तथा समाजमा पर्ने प्रभाव र अपराधको गम्भीरतालाई आधार बनाएर कानुनी व्यवस्था तथा सजायको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक छ। विशेषगरी प्रमाणित बलात्कारी र जघन्य महिला हिंसाका अपराधीलाई कडा कारबाही हुने सुनिश्चितता हुनुपर्ने उनको भनाइ छ।

सांसद कुँवरले नेपालको संविधानले मृत्युदण्ड र देश निकालाजस्ता सजायलाई निषेध गरेको विषय पनि उल्लेख गरिन्। संविधानको धारा १६ र १७ ले नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा व्यक्तिगत स्वतन्त्रतासँग सम्बन्धित अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै उनले संवैधानिक व्यवस्थासँगै नागरिकको जीवन, सुरक्षा र सम्मानको व्यवहारिक प्रत्याभूति पनि उत्तिकै आवश्यक रहेको बताइन्।

उनले प्रश्न गरिन्, ‘एउटा छोरीलाई छोरी हुनु नै पापजस्तो बनाइन्छ भने हामीले संविधानका अक्षर मात्र हेर्ने कि संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार पनि सुनिश्चित गर्ने?’

महिला तथा बालिकामाथि हुने हिंसाका घटना केवल व्यक्तिगत अपराध नभई समाजको सुरक्षा र राज्यको जिम्मेवारीसँग जोडिएको विषय भएको उनको भनाइ थियो। यस्ता घटनामा पीडितले न्याय पाउने वातावरण बनाउन नसकिए राज्यको कानुनी प्रणालीप्रतिको विश्वास कमजोर हुन सक्ने उनले बताइन्।

कुँवरले महिलालाई आफ्नो सुरक्षा आफैँ गर्न सिकाउने प्रवृत्तिमाथि पनि प्रश्न उठाइन्। महिलालाई कसरी सुरक्षित रहने, कसरी कपडा लगाउने, कसरी हिँड्ने वा कसरी आफूलाई जोगाउने भन्ने मात्र सिकाएर महिला हिंसा अन्त्य गर्न नसकिने उनको तर्क थियो।

उनका अनुसार समाजले छोरीलाई आत्मसुरक्षा र सावधानी सिकाएसँगै छोरालाई सम्मान, जिम्मेवारी र मानवता सिकाउनुपर्ने आवश्यकता छ। महिलामाथि हुने हिंसाको जिम्मेवारी पीडितमाथि थोपर्ने संस्कार अन्त्य गरी अपराध गर्ने व्यक्तिको सोच र व्यवहार परिवर्तनमा जोड दिनुपर्ने उनले बताइन्।

उनले भनिन्, ‘छोरीलाई लाज छोप्न र आत्मसुरक्षा सिकाउने समाजले छोरालाई पनि मानवता सिकाउनुपर्छ।’

सांसद कुँवरले बलात्कार तथा महिला हिंसाका घटनामा कानुनी कारबाही प्रक्रिया प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्। अपराध प्रमाणित भइसकेपछि दोषीले कानुनअनुसार कडा सजाय पाउने सुनिश्चितता भएमा मात्र कानुनप्रतिको डर स्थापित हुने उनको धारणा थियो।

उनका अनुसार अपराध नियन्त्रणका लागि केवल सजायको व्यवस्था गरेर मात्र पुग्दैन। अनुसन्धान प्रभावकारी हुनुपर्ने, पीडितले सहज रूपमा उजुरी गर्न सक्ने वातावरण बन्नुपर्ने, मुद्दाको सुनुवाइमा अनावश्यक ढिलाइ नहुने र दोषी ठहरिएका व्यक्तिले कानुनअनुसार सजाय भोग्ने सुनिश्चितता पनि आवश्यक हुन्छ।

कुँवरले महिला तथा बालिकामाथि हुने जघन्य अपराधलाई सामान्य घटनाका रूपमा नलिन सरकार र सम्बन्धित निकायलाई आग्रह गरिन्। यस्ता घटनामा राजनीतिक, सामाजिक वा अन्य कुनै प्रकारको दबाबका कारण अनुसन्धान तथा न्यायिक प्रक्रियामा प्रभाव पर्न नहुने उनको भनाइ थियो।

उनले महिला हिंसा नियन्त्रणका लागि कानुनसँगै सामाजिक चेतनामा पनि परिवर्तन आवश्यक रहेको बताइन्। घर, विद्यालय, समुदाय र सार्वजनिक संस्थाहरूबाटै लैंगिक सम्मान, समानता र मानवताको शिक्षा दिनुपर्ने उनको जोड थियो।

महिलामाथि हुने हिंसाका घटना रोक्न पीडितलाई दोष दिनेभन्दा अपराधीको मानसिकता र व्यवहारमाथि प्रश्न उठाउनुपर्ने उनको भनाइ थियो। समाजले हिंसाको घटनापछि पीडितको चरित्र, पहिरन वा व्यवहारमाथि प्रश्न गर्ने प्रवृत्ति त्यागेर अपराधीलाई जवाफदेही बनाउने संस्कार विकास गर्नुपर्ने उनले बताइन्।

कुँवरको अभिव्यक्तिले महिला हिंसाका घटनामा कानुनी सजाय मात्र होइन, अपराधको प्रकृति र गम्भीरताअनुसार न्यायिक दृष्टिकोण विकास गर्नुपर्ने विषयलाई संसद्मा उठाएको छ। उनले राज्यले नागरिकको सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक अधिकारलाई व्यवहारमै सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छन्।

उनको जोड अपराध गरेपछि सजाय दिने व्यवस्थासँगै अपराध गर्ने सोच नै विकास हुन नदिने सामाजिक र कानुनी वातावरण निर्माण गर्नेतर्फ थियो। त्यसका लागि कानुनको प्रभावकारी कार्यान्वयन, छिटो न्याय, पीडितको संरक्षण र समाजमा मानवता तथा जिम्मेवारीको भावना विकास गर्नुपर्ने उनको धारणा छ।

यौन हिंसा रोक्न कक्षा १ देखि १२ सम्म यौनशिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु दर्शनाले यौन हिंसा न्यूनीकरणका लागि विद्यालय शिक्षादेखि अनुसन्धान प्रणालीसम्म सुधार गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधिसभाको बैठकमा गरिमा चौधरीमाथिको बलात्कार घटनाको प्रसंग उठाउँदै दर्शनाले कक्षा १ देखि १२ सम्म उमेरअनुकूल समग्र यौनशिक्षा अनिवार्य रूपमा लागू गर्नुपर्ने बताइन् ।

आफू सांसदका रूपमा मात्रै नभई आमाको जिम्मेवारीसमेत सम्झेर विषय उठाइरहेको बताउँदै उनले गरिमा चौधरीको परिवारलाई न्याय दिलाउन सरकारले चालेका कदमप्रति धन्यवाद दिइन् ।

दर्शनाले विद्यालयको पाठ्यक्रममा यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित विषयलाई व्यवस्थित रूपमा समावेश गर्नुपर्ने बताइन् । समाजमा यौनशिक्षाको कुरा गर्दा नै असहज मान्ने प्रवृत्ति रहेकाले त्यसलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो ।

उनले यौन हिंसाका घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउन देशको फरेन्सिक क्षमता विस्तार गर्नुपर्ने अर्को माग राखिन् । घटनास्थलमा पुग्ने प्रहरीलाई प्रमाण सुरक्षित राख्ने, संकलन गर्ने र प्रारम्भिक अनुसन्धान गर्ने विषयमा आवश्यक तालिम तथा दक्षता प्रदान गर्नुपर्ने उनले बताइन् ।

महिला तथा बालिकामाथिको हिंसालाई केवल अपराध र कानुनी कारबाहीको विषयका रूपमा मात्र हेर्न नहुने दर्शनाको भनाइ छ । सञ्चारमाध्यम, विज्ञापन, कथा तथा चलचित्रमा महिलालाई यौन वस्तुका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले पनि समाजको सोच निर्माणमा असर पार्ने उनले टिप्पणी गरिन् ।

‘रास्वपा सरकार बनेपछि अराजकता बढ्यो’ [भिडियो]

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले सरकारप्रति जनताको विश्वास र भरोसा क्रमशः घट्दै गइरहेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पछिल्लो समय समाजमा अराजकता, अस्थिरता र विभिन्न किसिमका हिंसात्मक घटनाहरू बढ्दै गएको भन्दै सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका हुन्।

सांसद सिंहले पछिल्ला केही घटनालाई छुट्टाछुट्टै रूपमा मात्र हेर्न नहुने बताए। बारा र सप्तरीमा भएका घटनासहित देशका विभिन्न स्थानमा निरन्तर देखिइरहेका सामाजिक तथा राजनीतिक तनावले राज्यको प्रभावकारितामाथि नै प्रश्न उठाएको उनको भनाइ थियो।

उनले सरकार गठन भएयता विभिन्न क्षेत्रमा असन्तुष्टि र समस्या देखिँदै आएको उल्लेख गरे। कप्तानगन्जको घटनादेखि धार्मिक तथा सामाजिक सद्भावमा देखिएका तनाव, मिटरब्याज पीडित, लघुवित्त पीडित र चिकित्सकसँग सम्बन्धित आन्दोलनसम्मका घटनालाई हेर्दा जनतामा सरकारप्रतिको विश्वास कमजोर हुँदै गएको संकेत देखिएको उनले बताए।

सिंहले प्रतिनिधिसभामा भने, ‘यो हाम्रो समाज कता गइरहेको छ ? बारा र सप्तरीका दुईवटा घटनालाई मात्रै हेरेर हुँदैन। हाम्रो सरकार बनेदेखि कप्तानगन्जको घटना होस्, धार्मिक–सामाजिक सद्भावको विषय होस् या मिटरब्याज, लघुवित्त पीडित र डाक्टरका समस्या हुन्, दिनदिनै भइरहेका घटनाले सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गएको देखाउँछ।’

उनका अनुसार राज्यका विभिन्न संयन्त्रले समयमै समस्या पहिचान गरेर समाधान गर्न नसक्दा समाजमा असन्तुष्टि बढ्ने अवस्था सिर्जना हुन्छ। कुनै समस्या लामो समयसम्म समाधान नभई थुप्रिँदै जाँदा त्यसले आन्दोलन, विरोध र सामाजिक तनावको रूप लिन सक्ने भन्दै उनले सरकारलाई यसतर्फ गम्भीर हुन आग्रह गरे।

सिंहले समाजमा अराजकता र अस्थिरता बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारण नागरिकको दैनिक जीवनमा पर्ने बताए। हत्या, हिंसा, बलात्कार, विभिन्न प्रकारका आन्दोलन तथा सामाजिक तनावका घटनाले नेपाली जनतालाई निरन्तर दुःख दिइरहेको उनको भनाइ थियो।

उनले सरकारको मुख्य जिम्मेवारी नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्नु, कानुनको प्रभावकारी कार्यान्वयन गर्नु र जनतामा राज्यप्रतिको भरोसा कायम गर्नु भएको बताए। तर राज्यका विभिन्न तहमा देखिने कमजोरी र समस्या समाधानमा हुने ढिलाइका कारण नागरिकमा निराशा बढ्न सक्ने उनले चेतावनी दिए।

सिंहले कुनै पनि समाजमा राज्यप्रतिको विश्वास कमजोर हुँदै गए त्यसको परिणाम गम्भीर हुन सक्ने बताए। उनका अनुसार नागरिकले आफ्नो समस्या राज्यले समाधान गर्छ भन्ने विश्वास गुमाएपछि मानिसहरू वैकल्पिक बाटो खोज्न थाल्छन् र त्यही अवस्थाले सामाजिक बेथिति तथा अपराधलाई बढावा दिन सक्छ।

उनले भने, ‘जब समाजमा बेथिति हुन्छ, जब विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ।’ त्यसैले पछिल्ला घटनालाई केवल सुरक्षा वा प्रशासनिक समस्याका रूपमा मात्र नहेरी त्यसको सामाजिक, आर्थिक र राजनीतिक कारणबारे समेत गम्भीर छलफल आवश्यक रहेको उनले बताए।

सांसद सिंहले विभिन्न समूहले पटक-पटक आन्दोलन गर्नुपर्ने अवस्था आउनु पनि राज्यको समस्या समाधान गर्ने क्षमता कमजोर भएको संकेत हुन सक्ने बताए। मिटरब्याज पीडित, लघुवित्त पीडित, चिकित्सक तथा अन्य विभिन्न क्षेत्रका नागरिकले आफ्ना माग लिएर सडकमा आउनुपर्ने अवस्थाको स्थायी समाधान खोज्न सरकार केन्द्रित हुनुपर्ने उनको धारणा थियो।

उनका अनुसार तत्कालका लागि आन्दोलन रोक्ने वा सम्झौता गर्नेभन्दा पनि समस्या उत्पन्न हुने कारण पहिचान गरी दीर्घकालीन समाधान खोजिनुपर्छ। अन्यथा एउटा समस्या समाधान भएलगत्तै अर्को समस्या उत्पन्न हुने र सरकार निरन्तर प्रतिक्रियात्मक भूमिकामा मात्र सीमित हुने अवस्था आउन सक्ने उनले बताए।

सिंहले पछिल्ला घटनालाई लिएर संसद्मा पर्याप्त र गम्भीर बहस आवश्यक रहेको बताए। समाजमा बढ्दै गएको असन्तुष्टि, अपराध र अराजकताको कारणबारे सरकार, राजनीतिक दल र सम्बन्धित निकायले साझा रूपमा समीक्षा गर्नुपर्ने उनको भनाइ थियो।

उनले सरकारलाई नागरिकसँगको संवाद बढाउन, स्थानीय तहसम्म राज्यको उपस्थिति प्रभावकारी बनाउन तथा समस्यामा परेका समुदायको गुनासो समयमै सम्बोधन गर्न सुझाव दिए। जनताको विश्वास पुनः स्थापित गर्न सरकारको कामकारबाही पारदर्शी, जवाफदेही र परिणाममुखी हुनुपर्ने उनको जोड थियो।

 

रवि ठहरिए जिम्मेवार नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अब पुराना दलका कमजोरी गनेर राजनीतिको रोटी सेक्ने बाटोभन्दा भविष्य निर्माणको एजेन्डामा अघि बढ्ने संकेत गरेका छन् ।

उनको पछिल्लो अभिव्यक्ति हेर्दा विगतको विरोधमा रमाउने नेताभन्दा जिम्मेवार राजनीतिक नेतृत्वतर्फ आफूलाई उभ्याउन खोजेको देखिन्छ ।

काठमाडौंमा आयोजित रास्वपाको ‘नीति, संगठन र नेतृत्व’सम्बन्धी कार्यशालामा लामिछानेले बितेको ३५ वर्षको हिसाब खोजिरहनुभन्दा आगामी ३५ वर्षमा देशलाई कस्तो बनाउने भन्ने योजना प्रस्तुत गर्नुपर्ने बताएका छन् ।

‘३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथी हो । ३५ वर्षको योजना ल्याउनुहोस्,’ उनले भनेका छन्, ‘बितेको ३५ वर्षका लागि उहाँहरूलाई कचकच गर्ने ठाउँमा हामी छैनौँ । जति सके गरे, धन्यवाद । तर अबको ३५ वर्षमा कस्तो बनाउने हाम्रै हातमा छ ।’

राजनीतिमा नयाँ दलको उदय प्रायः पुराना शक्तिप्रतिको जनअसन्तुष्टिबाट हुन्छ । रास्वपाको उदय पनि त्यसबाट अलग छैन । पुराना दलका कमजोरी, बेथिति र असफलतालाई औँल्याएर जनमत तान्न सजिलो हुन्छ । तर सधैँ अरूको कमजोरी देखाएर मात्रै नयाँ राजनीतिक शक्ति स्थापित हुन सक्दैन ।

यही वास्तविकतालाई लामिछानेले आत्मसात् गर्न थालेका हुन् भने यसलाई सकारात्मक राजनीतिक परिपक्वता मान्नुपर्छ ।

पुराना दलले गल्ती गरेका छैनन् भन्न खोजिएको होइन । विगतका कमजोरीमाथि प्रश्न उठाउनु लोकतान्त्रिक राजनीतिमा स्वाभाविक हो । तर त्यसैलाई राजनीतिको मुख्य एजेन्डा बनाएर बस्नुको सट्टा आफूले के गर्ने भन्ने जवाफ दिन सक्नु नै नयाँ शक्तिको असली परीक्षा हो ।

लामिछानेले आफ्ना नेता–कार्यकर्तालाई पुराना दल र नेतामाथि निरन्तर दोषारोपण गरेर राजनीतिक लाभ लिने शैलीबाट टाढा रहन दिएको सन्देश त्यसैले अर्थपूर्ण छ । विगतमा भएका सकारात्मक कामलाई समेत स्वीकार गर्नुपर्ने उनको भनाइले राजनीतिक प्रतिस्पर्धालाई दुश्मनी होइन, नीतिगत प्रतिस्पर्धाका रूपमा अघि बढाउने संकेत गर्छ ।

त्यसैगरी उनले रास्वपाका गतिविधि लोकतन्त्रलाई कमजोर पार्ने खालका हुन नहुने स्पष्ट पारेका छन् । ‘हाम्रा गतिविधिले लोकतन्त्रलाई कमजोर नबनाओस्, यो हाम्रो पहिलो जिम्मेवारी हो,’ उनले भने ।

यो भनाइ रास्वपाजस्तो नयाँ राजनीतिक शक्तिका लागि झन् महत्वपूर्ण छ । किनकि परिवर्तनको नारामा उदाएको दलले लोकतान्त्रिक अभ्यास र राजनीतिक संस्कारमा पनि परिवर्तन देखाउन सक्नुपर्छ । लोकप्रियताको नाममा उत्तेजना, विरोधका नाममा अराजकता र राजनीतिक असहमतिलाई दुश्मनीमा बदल्ने प्रवृत्तिबाट टाढा रहन सके मात्रै नयाँ दलको औचित्य पुष्टि हुन्छ ।

लामिछानेले सरकार सञ्चालनमा मात्रै ध्यान दिएर नपुग्ने भन्दै प्रभावकारी प्रतिपक्ष पनि लोकतन्त्रको आवश्यकता भएको बताएका छन् । यसको अर्थ सत्ता र प्रतिपक्ष दुवै अवस्थामा जिम्मेवार राजनीतिक भूमिका निर्वाह गर्ने संस्कार निर्माण गर्नुपर्ने उनको जोड हो ।

रास्वपाको पहिलो महाधिवेशनपछि भएको यो कार्यशाला पार्टीको आगामी राजनीतिक दिशाका लागि पनि महत्वपूर्ण छ । संगठन विस्तार, नीति निर्माण र नेतृत्वको कार्यशैलीलाई व्यवस्थित बनाउने विषयमा छलफल भइरहेको अवस्थामा लामिछानेको ‘३५ वर्षको योजना’को कुरा केवल भाषणमा सीमित रहनु हुँदैन ।

स्थानीय तहसम्म संगठन विस्तारदेखि आगामी निर्वाचनसम्म रास्वपाले कस्तो नीति र कार्यक्रम लिएर जनतामाझ जान्छ, त्यसैले अब उसको राजनीतिक हैसियत निर्धारण गर्नेछ ।

रविले पुराना दललाई गाली गरेर ताली पाउने राजनीतिभन्दा आफ्नो कामबाट जनताको विश्वास जित्ने बाटो रोज्न खोजेका हुन् भने यो उनको राजनीतिक यात्राको महत्वपूर्ण मोड हुन सक्छ । नयाँ नेता हुनु र जिम्मेवार नेता हुनु फरक कुरा हो । आलोचनाबाट लोकप्रिय बन्न सकिन्छ, तर दीर्घकालीन दृष्टि, संयम र परिणामबाट मात्रै नेता ठहरिन्छ ।

विगतको ३५ वर्षको हिसाब माग्ने होइन, अबको ३५ वर्षको जिम्मेवारी लिने कुरा रविले उठाएका छन् । यही सोच व्यवहारमा उतार्न सके रवि साँच्चिकै जिम्मेवार नेता ठहरिनेछन् ।

‘मलाई बजार-किसानलाई मूल्य देउ’ [भिडियाे]

काठमाडौं। हातमा मागपत्र, काँधमा किसानका समस्या लेखिएका प्लेकार्ड र मुखमा आक्रोशपूर्ण नारा। राजधानीको सडकमा देखिएको यो दृश्य केवल एउटा विरोध प्रदर्शनको दृश्य होइन, वर्षौँदेखि उत्पादन, बजार र मूल्यको असन्तुलनसँग जुधिरहेका कुखुरा पालक किसानको पीडाको अभिव्यक्ति हो।

तस्बिरमा देखिएका किसानका हातमा रहेका प्लेकार्डमा एउटै कुरा फरक-फरक शब्दमा दोहोरिएको छ-किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउनुपर्छ। कसैले ‘किसानको पसिनाको सम्मान गर’ भनेका छन्, कसैले ‘किसानलाई बजार मूल्य देऊ’ भन्ने माग उठाएका छन्। अर्कोतर्फ ‘बिचौलियाको जालो तोडौँ’ र ‘सानो किसानको विस्थापन बन्द गर’ जस्ता नाराले पोल्ट्री व्यवसायभित्रको संरचनागत समस्यातर्फ संकेत गर्छन्।

यो दृश्यलाई अझ गम्भीर बनाउने अर्को पक्ष हो-किसानले सरकारसमक्ष लिखित रूपमा राखेका माग। कृषि, वन तथा वातावरण मन्त्रालयलाई सम्बोधन गरिएको पत्रमा कुखुरा पालक किसानले आफ्नो उत्पादनदेखि बजारसम्म भोग्दै आएका समस्याको विस्तृत विवरणसहित समाधानका उपायसमेत प्रस्तुत गरेका छन्।

किसानहरूको गुनासो केवल कुखुराको मूल्यमा सीमित छैन। चल्ला किन्दादेखि दाना, औषधि, प्राविधिक सेवा, रोग नियन्त्रण, बजार मूल्य, तौल, ढुवानी र बिक्रीसम्म किसान विभिन्न तहमा समस्यामा परेको उनीहरूको दाबी छ।

कुखुरा पालक किसानले सरकारसँग राखेको पहिलो र महत्वपूर्ण माग नै आफ्नो उत्पादनको मूल्य निर्धारणसँग सम्बन्धित छ। किसानले उत्पादन गरेको कुखुराको मूल्य निर्धारण गर्ने अधिकार किसानलाई नै दिनुपर्ने उनीहरूको माग छ।

किसानका अनुसार उत्पादन लागत, जोखिम र लगानीलाई आधार मानेर न्यूनतम समर्थन मूल्य कायम गरिनुपर्छ। उत्पादन गर्दा लागत बढ्ने तर बजारमा बिक्री गर्ने समयमा मूल्य घट्ने अवस्थाले किसानलाई निरन्तर घाटामा धकेल्ने गरेको उनीहरूको भनाइ छ।

कुखुरा पालनमा दाना, चल्ला, औषधि, श्रम, विद्युत्, पानी, खोर व्यवस्थापन र रोगको जोखिमजस्ता धेरै खर्च जोडिन्छन्। तर बजारमा कुखुराको मूल्य घट्दा यी सबै लागतको भार किसानकै काँधमा पर्ने गरेको उनीहरूको गुनासो छ।

किसानले उत्पादन सुरु गर्नुअघि नै सामना गर्ने अर्को समस्या चल्लाको मूल्य र गुणस्तरसँग सम्बन्धित रहेको मागपत्रमा उल्लेख छ।

व्यवसायी वा सम्बन्धित संस्थाले तोकेको चल्लाको मूल्यभन्दा पनि किसानले बढी रकम तिर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने माग गरिएको छ। चल्लाको मूल्य, गुणस्तर र आपूर्तिमा पारदर्शी व्यवस्था हुनुपर्ने किसानको माग छ।

गुणस्तर सुनिश्चित गर्न ह्याचरीको नियमित अनुगमन, निर्धारित मापदण्डको पालना तथा कमजोर गुणस्तरका चल्ला बिक्री गर्ने कार्य नियन्त्रण गर्नुपर्ने उनीहरूले बताएका छन्।

किसानका लागि राम्रो गुणस्तरको चल्ला उत्पादनको आधार हो। तर सुरुवातमै कमजोर गुणस्तरको चल्ला पाउँदा त्यसको असर उत्पादन, रोगको जोखिम र अन्ततः आम्दानीमा पर्ने भएकाले ह्याचरीको नियमित नियमन आवश्यक रहेको किसानहरूको भनाइ छ।

त्यस्तै, दाना कम्पनीहरूले पनि गुणस्तरीय दाना उपलब्ध गराउनुपर्ने माग गरिएको छ। दानाको गुणस्तरमा समस्या देखिएमा किसानको गुनासो सुनुवाइ र समाधान गर्न प्रभावकारी संयन्त्र बनाउनुपर्ने उनीहरूको माग छ।

किसानको अर्को प्रमुख समस्या बजारमा कुखुराको वास्तविक मूल्यबारे जानकारी नहुनु हो। मागपत्रमा देशभरका किसानले आफ्नो क्षेत्रको कुखुराको दैनिक वास्तविक बजार मूल्य सहज रूपमा थाहा पाउने पारदर्शी मूल्य सूचना प्रणाली स्थापना गर्नुपर्ने माग गरिएको छ।

किसानले उत्पादन गरेको कुखुरा बजारमा पुग्दा कति मूल्यमा बिक्री भइरहेको छ भन्ने स्पष्ट जानकारी नहुँदा उनीहरू अरू पक्षले तोकेको मूल्यमा निर्भर हुनुपर्ने अवस्था आउने गरेको किसानहरूको गुनासो छ।

त्यसैले दैनिक बजार मूल्य सार्वजनिक हुने र किसानले सहज रूपमा जानकारी पाउने प्रणाली आवश्यक रहेको उनीहरूले बताएका छन्।

किसानले उठाएको अर्को गम्भीर विषय हो-तौल र मूल्यमा हुने कटौती।

मागपत्रमा किसानलाई हुने काँटा तथा तराजुको ठगी, तौलमा अनियमितता, बिचौलियाका नाममा हुने कटौती र संघको नाममा पोल्ट्री स्टोरले किसानले पाउने मूल्यबाट प्रतिकिलो १० देखि २० रुपैयाँसम्म घटाउने कार्य तत्काल अन्त्य गर्न माग गरिएको छ।

किसानले उत्पादन गरेको कुखुराको मूल्य बजारमा एउटा भए पनि विभिन्न शीर्षकमा रकम कटौती हुँदै जाँदा अन्ततः किसानको हातमा पुग्ने रकम घट्ने गरेको उनीहरूको गुनासो छ।

यसले किसान र बजारबीचको दूरी मात्र बढाएको छैन, बिचौलियाको भूमिकामाथि पनि प्रश्न उठाएको छ। त्यसैले योजनाबद्ध रूपमा किसानलाई ढुवानी तथा बिक्री प्रक्रियामा फसाएर शोषण गर्ने प्रवृत्ति नियन्त्रण गर्नुपर्ने माग उनीहरूले गरेका छन्।

किसानहरूले संगठित रूपमा भारतबाट अवैध रूपमा भित्रिने कुखुरा तथा चल्लाको तस्करी नियन्त्रण गर्न पनि सरकारसँग माग गरेका छन्।

स्थानीय किसानले उत्पादन गरेको कुखुराले बजार नपाउने तर अवैध रूपमा भित्रिएको उत्पादनले बजार ओगट्ने अवस्था भएमा त्यसको प्रत्यक्ष असर नेपाली किसानमा पर्ने उनीहरूको तर्क छ।

किसानको उत्पादन संरक्षण गर्न सीमावर्ती क्षेत्रमा निगरानी बढाउने र अवैध आयात नियन्त्रण गर्ने प्रभावकारी व्यवस्था आवश्यक रहेको मागपत्रमा उल्लेख छ।

कुखुरा पालनमा रोगको जोखिम अर्को ठूलो चुनौतीका रूपमा किसानले उठाएका छन्। रोग पहिचान र नियन्त्रणका लागि प्रत्येक क्षेत्रमा गुणस्तरीय प्रयोगशालाको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।

रोगको समयमै पहिचान हुन नसक्दा ठूलो संख्यामा कुखुरा मर्न सक्ने र त्यसबाट किसानले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने अवस्था आउँछ। त्यसैले किसानलाई स्थानीय स्तरमै परीक्षण तथा प्राविधिक सेवा उपलब्ध गराउनुपर्ने माग गरिएको छ।

त्यस्तै, आधुनिक प्रविधि, प्राविधिक सेवा र विज्ञ परामर्श किसानलाई सहज रूपमा उपलब्ध गराउन स्थायी व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ।

किसानका समस्या, गुनासा र सुझाव सुन्न तथा समाधान गर्न कुखुरा पालन क्षेत्रका लागि छुट्टै प्रभावकारी आयोग वा संयन्त्र गठन गर्नुपर्ने माग पनि उनीहरूले राखेका छन्।

किसानका अनुसार समस्या आएपछि मात्र सरकारी निकाय सक्रिय हुनेभन्दा नियमित रूपमा किसानका गुनासा सुन्ने, बजारको अवस्था बुझ्ने र आवश्यक हस्तक्षेप गर्न सक्ने संस्थागत संयन्त्र आवश्यक छ।

यस्तो संयन्त्र बनेमा किसान र सरकारबीच प्रत्यक्ष संवादको माध्यम स्थापित हुने र समस्या सडकसम्म आउनुअघि नै समाधान गर्न सकिने उनीहरूको अपेक्षा छ।

कुखुरा उत्पादन बढ्नु आफैँमा किसानका लागि खुसीको विषय हुनुपर्ने हो। तर उत्पादन बढेका बेला बजार व्यवस्थापन हुन नसक्दा किसानले उल्टै घाटा बेहोर्नुपर्ने अवस्था देखिने गरेको उनीहरूको गुनासो छ।

यसैलाई ध्यानमा राख्दै किसानले प्रत्येक प्रदेशमा सरकारी वा सहकारी माध्यमबाट कुखुरा भण्डारण केन्द्र स्थापना गर्नुपर्ने माग गरेका छन्। उत्पादन बढी भएका बेला किसानले बाध्य भएर सस्तो मूल्यमा कुखुरा बिक्री गर्नुपर्ने अवस्था अन्त्य गर्न यस्ता केन्द्र उपयोगी हुने उनीहरूको विश्वास छ।

भण्डारण तथा बजार व्यवस्थापनको व्यवस्था भएमा उत्पादनको संरक्षण गर्न सकिने र बजारमा मूल्य घट्दा किसानले तत्कालै सबै उत्पादन सस्तोमा बेच्नुपर्ने बाध्यता कम हुने उनीहरूको तर्क छ।

यी सबै मागलाई हेर्दा पोल्ट्री किसानको प्रश्न देखिन्छ-उत्पादन गर्ने किसानले आफ्नो उत्पादनबाट उचित आम्दानी कहिले पाउने?

किसानले चल्ला किन्नुपर्छ, दाना किन्नुपर्छ, खोर बनाउनुपर्छ, औषधि र प्राविधिक सेवामा खर्च गर्नुपर्छ। रोगको जोखिम पनि किसानकै हुन्छ। तर उत्पादन बिक्री गर्ने बेलामा मूल्य निर्धारणमा किसानको भूमिका कमजोर हुँदा सम्पूर्ण जोखिम किसानकै काँधमा पर्ने अवस्था रहेको उनीहरूको गुनासो छ।

यही कारण सडकमा देखिएका प्लेकार्ड केवल नाराका कागज होइनन्। ती किसानका वर्षौँदेखिका समस्या, असन्तुष्टि र अपेक्षाका लिखित अभिव्यक्ति हुन्।

‘किसानको पसिनाको सम्मान गर’ भन्ने नाराले किसानको श्रमको मूल्य खोजिरहेको छ। ‘बिचौलियाको जालो तोडौँ’ भन्ने नाराले उत्पादन र उपभोक्ताबीचको मूल्य अन्तरमा प्रश्न गरिरहेको छ। ‘सानो किसानको विस्थापन बन्द गर’ भन्ने नाराले बढ्दो लागत र अस्थिर बजारका कारण साना किसान व्यवसायबाट बाहिरिनुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गरिरहेको छ।

किसानले सरकारसमक्ष राखेका माग पूरा गर्ने प्रक्रिया अब सरकारका लागि परीक्षणको विषय बनेको छ। किसानका मागमध्ये केही तत्काल बजार अनुगमन र नियमनसँग सम्बन्धित छन् भने केहीका लागि दीर्घकालीन नीतिगत तथा संस्थागत सुधार आवश्यक पर्छ।

मूल्य सूचना प्रणाली, बजार अनुगमन, तौलमा हुने अनियमितता नियन्त्रण, गुणस्तर परीक्षण, रोग नियन्त्रण, प्राविधिक सेवा र अवैध आयात नियन्त्रणजस्ता विषयमा प्रभावकारी कदम चाल्न सके किसानको तत्कालीन समस्या केही हदसम्म सम्बोधन हुन सक्छ।

तर मूल प्रश्न भने किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने सुनिश्चितता कसरी गर्ने भन्ने नै हो।

किसान सडकमा उभिएर आफ्नो पसिनाको मूल्य मागिरहेका छन्। उनीहरूको हातमा भएका प्लेकार्डले सरकारलाई एउटा स्पष्ट सन्देश दिइरहेका छन्-कृषि उत्पादन बढाउने भाषणभन्दा पनि उत्पादन गर्ने किसानलाई टिकाइराख्ने बजार र मूल्यको व्यवस्था आवश्यक छ।

कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा र खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्धारित कार्यतालिकालाई लिएर पार्टीभित्र विवाद चर्किएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा र कांग्रेस नेता पूर्णबहादुर खड्काले महाधिवेशनसम्बन्धी विषयलाई लिएर सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका छन्।

दुवै नेताले आफ्ना प्रतिनिधिमार्फत सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन्। देउवाले कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका छन् भने खड्काले यसअघि नै सर्वोच्चमा विचाराधीन रहेको पुनरावलोकनसम्बन्धी मुद्दासँग आफ्नो निवेदनलाई समेत जोडेर हेर्न माग गरेका छन्।

सर्वोच्च अदालतका सहरजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार कांग्रेसको महाधिवेशनसँग सम्बन्धित दुईवटा फरक प्रकृतिका रिट अदालतमा दर्ता भएका छन्। उनका अनुसार प्राप्त दुवै निवेदन अहिले प्रारम्भिक अध्ययनको क्रममा छन्।

प्रवक्ता कोइरालाका अनुसार देउवाको रिटमा कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गरिएको छ। यता खड्काले भने यसअघि दायर भएको पुनरावलोकनसम्बन्धी मुद्दासँग आफ्नो नयाँ निवेदनलाई समेत सँगै राखेर सुनुवाइ गर्नुपर्ने माग गरेका छन्।

अदालतमा परेको निवेदनको अध्ययनपछि मात्र त्यसलाई कसरी अघि बढाउने भन्ने विषयमा आवश्यक प्रक्रिया तय हुने सर्वोच्च अदालतले जनाएको छ। रिटमाथि प्रारम्भिक अध्ययनपछि दर्ता, सुनुवाइ तथा आवश्यक आदेशका सम्बन्धमा अदालतले निर्णय गर्नेछ।

कांग्रेसको केन्द्रीय समितिले यसअघि १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका तय गरेको थियो। पार्टीको आन्तरिक विवाद र महाधिवेशनको तयारीका विषयमा विभिन्न तहमा छलफल भइरहेका बेला महाधिवेशनको निर्धारित मितिमाथि नै प्रश्न उठाउँदै सर्वोच्चमा रिट परेको हो।

केन्द्रीय समितिले तय गरेको महाधिवेशनको मिति यथावत् राख्दै कांग्रेस केन्द्रीय निर्वाचन समितिले तल्ला तहका अधिवेशनको समेत कार्यतालिका सार्वजनिक गरिसकेको छ। पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक पर्ने वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्रलगायतका विभिन्न तहको अधिवेशन प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

तर, पार्टीभित्र महाधिवेशनको तयारी, कार्यतालिका र त्यससँग जोडिएका विभिन्न प्रक्रियालाई लिएर मतभेद देखिँदै आएको छ। यही विवाद अदालतसम्म पुगेपछि कांग्रेसको १५औँ महाधिवेशन निर्धारित समयमा सम्पन्न हुने वा नहुने विषयमा थप अन्योल उत्पन्न भएको छ।

महाधिवेशन कांग्रेसको आन्तरिक संगठनात्मक संरचना पुनर्गठन गर्ने महत्वपूर्ण प्रक्रिया भएकाले यसको कार्यतालिका र निर्वाचन प्रक्रिया पार्टीभित्र विशेष चासोको विषय बन्दै आएको छ। महाधिवेशनमा नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा र संगठनात्मक रणनीतिसमेत प्रभावित हुने भएकाले निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्नुपर्ने पक्षमा रहेका नेताहरू पनि छन्।

अर्कोतर्फ, महाधिवेशनको तयारीसँग सम्बन्धित कानुनी तथा प्रक्रियागत विषय टुंगो नलागेसम्म अघि बढ्न नहुने धारणा राख्ने पक्ष पनि पार्टीभित्र देखिएको छ। यही विवादका बीच देउवा र खड्काले सर्वोच्च अदालतको ढोका ढकढक्याएका हुन्।

अब सर्वोच्च अदालतले रिटमाथि गर्ने प्रारम्भिक निर्णयले कांग्रेसको महाधिवेशन प्रक्रियामा प्रत्यक्ष प्रभाव पार्न सक्ने देखिएको छ। अदालतले रिटमा अन्तरिम आदेश दिने वा नदिने तथा महाधिवेशनको निर्धारित कार्यतालिकाबारे थप प्रक्रिया अघि बढाउने विषयमा गर्ने निर्णयलाई कांग्रेसभित्र निकै चासोका साथ हेरिएको छ।

हाल भने दुवै रिट सर्वोच्च अदालतमा अध्ययनकै क्रममा रहेका छन्। अदालतबाट औपचारिक आदेश वा निर्णय नआएसम्म कांग्रेसको १५औँ महाधिवेशनका लागि यसअघि तय गरिएको कार्यतालिका कायमै रहने देखिन्छ।

जय नेपाल पार्टीले गठन गर्‍यो एकताका लागि पाँच सदस्यीय वार्ता समिति

काठमाडौं । जय नेपाल पार्टीले विचार, सिद्धान्त र राजनीतिक दृष्टिकोण मिल्ने विभिन्न दल, संगठन, समूह तथा अभियानसँग सहकार्य र एकताका लागि पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ। पार्टीले राजनीतिक शक्तिहरूलाई एउटै ठाउँमा गोलबन्द गर्ने उद्देश्यसहित वार्ता प्रक्रियालाई औपचारिक रूपमा अघि बढाउन समिति गठन गरेको जनाएको छ।

पार्टीले गठन गरेको वार्ता समितिको संयोजकमा नारायण कोइरालालाई जिम्मेवारी दिइएको छ। समितिका सदस्यहरूमा सुरेशप्रसाद आचार्य, प्रज्ज्वल बोहरा, अञ्जना शाह रावल र होमनाथ गौतम रहेका छन्।

विभिन्न राजनीतिक दल, संगठन तथा अभियानसँग सहकार्य र एकताको सम्भावना खोज्न समिति सक्रिय हुने पार्टीले जनाएको छ। समितिले विचार, नीति, कार्यक्रम तथा राजनीतिक उद्देश्यमा समानता भएका शक्तिहरूसँग छलफल गरी सम्भावित सहकार्य र एकताका विषयमा आवश्यक पहल गर्नेछ।

जय नेपाल पार्टीको केन्द्रीय कार्यसमितिको गत भदौ ४ गते काठमाडौंमा बसेको बैठकले पार्टीसँग विचार मिल्ने राजनीतिक दल, संगठन, समूह, अभियान तथा व्यक्तिहरूलाई पार्टीको मूलधारमा समेट्ने उद्देश्यले वार्ता समिति गठन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पाँच सदस्यीय समिति गठन गरिएको हो।

पार्टीले पछिल्लो समय समान विचार र राजनीतिक एजेन्डा बोकेका विभिन्न शक्ति तथा अभियानबीच सहकार्यको आवश्यकता बढ्दै गएको निष्कर्ष निकालेको जनाएको छ। विभिन्न समूहमा विभाजित रहेका समान विचारधाराका शक्ति एक ठाउँमा आउन सके राजनीतिक प्रभाव विस्तार गर्न सकिने पार्टीको बुझाइ छ।

वार्ता समितिले सम्भावित एकता तथा सहकार्यका लागि सम्बन्धित पक्षसँग प्रत्यक्ष संवाद गर्नेछ। त्यसक्रममा सम्बन्धित दल, समूह वा अभियानका राजनीतिक विचार, संगठनात्मक संरचना, नीति तथा कार्यक्रमलगायत विषयमा छलफल गरिने बताइएको छ।

पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले केन्द्रीय कार्यसमितिको निर्णयअनुसार वार्ता समितिले तत्काल आफ्नो काम अघि बढाउने जानकारी दिएका छन्। उनका अनुसार समितिले विभिन्न पक्षसँग संवाद सुरु गर्दै सहकार्य, समायोजन तथा एकताको सम्भावनाबारे छलफल गर्नेछ।

लावतीका अनुसार समान राजनीतिक उद्देश्य र विचार भएका शक्तिहरूबीच सहकार्यको वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता भएकाले त्यसका लागि पार्टीले संवादलाई प्राथमिकतामा राखेको हो। वार्ताका क्रममा सम्बन्धित पक्षका धारणा र सुझावलाई समेत समेट्दै आवश्यक निर्णयमा पुग्ने पार्टीको तयारी छ।

जय नेपाल पार्टीले गठन गरेको वार्ता समितिलाई विभिन्न राजनीतिक शक्ति तथा अभियानसँगको सम्बन्ध विस्तारका साथै सम्भावित एकता प्रक्रियालाई अगाडि बढाउने जिम्मेवारी दिइएको छ। समितिले गर्ने छलफल र त्यसबाट प्राप्त निष्कर्षका आधारमा पार्टीले आगामी राजनीतिक रणनीति तय गर्ने बताइएको छ।

पार्टीका अनुसार वार्ता समिति गठन गर्नुको उद्देश्य केवल तत्कालीन राजनीतिक सहकार्यमा सीमित नभई समान विचार भएका शक्ति, संगठन र व्यक्तिहरूलाई दीर्घकालीन रूपमा एउटै राजनीतिक धारमा जोड्नु पनि हो। यसका लागि संवाद, सहकार्य र आपसी समझदारीलाई आधार बनाइने पार्टीले जनाएको छ।

अब वार्ता समितिले विभिन्न दल, समूह, अभियान तथा स्वतन्त्र राजनीतिक व्यक्तित्वसँग सम्पर्क गरी छलफल अघि बढाउनेछ। त्यसबाट सहकार्य वा एकताको सम्भावना देखिएका पक्षसँग थप औपचारिक प्रक्रिया अघि बढाउने तयारी जय नेपाल पार्टीको रहेको छ।

गरिमा चौधरी हत्या प्रकरणमा सरकारी सम्झौतामाथि कांग्रेस सांसद गच्छदारको प्रश्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले बलात्कारपछि हत्या गरिएकी ३ वर्षीया गरिमा चौधरीको परिवारसँग सरकारले गरेको सम्झौता र राहतको विषयप्रति प्रश्न उठाएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गच्छदारले जघन्य अपराधमा पीडित परिवारलाई राहत वा स्मारक निर्माण गरेर मात्रै न्याय सुनिश्चित नहुने बताइन्। उनले एउटा सालिक निर्माण गर्दैमा बालिकाको जीवन फिर्ता नआउने भन्दै राज्यले पीडित परिवारलाई वास्तविक न्यायको अनुभूति गराउनुपर्ने धारणा राखिन्।

सरकार र पीडित परिवारबीच भएको सहमतिले तत्कालका लागि आन्दोलन रोक्न सहयोग गरे पनि त्यसले घटनाबाट उत्पन्न दीर्घकालीन पीडा र न्यायको प्रश्न समाधान गर्न नसक्ने उनको भनाइ थियो। राहत रकमले पीडित परिवारलाई केही समय आर्थिक सहयोग पुग्न सक्ने भए पनि त्यसलाई न्यायको विकल्पका रूपमा लिन नहुने उनले बताइन्।

गच्छदारले राज्यले यस्ता घटनामा पीडित र परिवारको पक्षमा दृढतापूर्वक उभिएर दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन्। उनका अनुसार अपराधपछि गरिने क्षतिपूर्ति, राहत वा सम्झौताभन्दा दोषीमाथि हुने कानुनी कारबाही र पीडितले पाउने न्याय महत्वपूर्ण हुन्छ।

उनले सडकमा आन्दोलन चर्किएपछि मात्र मन्त्री तथा सरकारी संयन्त्र सक्रिय हुने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाइन्। सरकारका मन्त्रीहरू आन्दोलन सुरु भएपछि तत्काल सक्रिय हुने तर स्थानीय तह र स्थानीय प्रशासनलाई प्रभावकारी रूपमा परिचालन गर्न नसक्ने अवस्थाले जनतामा राज्यका स्थानीय संयन्त्रप्रतिको विश्वास कमजोर बनाइरहेको उनको तर्क थियो।

सांसद गच्छदारले जघन्य अपराधका घटनामा राजनीतिक वा प्रशासनिक दबाबमा मिलापत्र गराउने प्रवृत्तिमाथि कडाइ गर्नुपर्ने बताइन्। बलात्कार तथा हत्याजस्ता गम्भीर अपराधमा पीडित परिवारलाई दबाब दिएर वा विभिन्न माध्यमबाट सहमतिमा ल्याउने प्रयास भए त्यसमा संलग्न व्यक्तिलाई समेत कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनको माग थियो।

उनले यस्ता घटनामा विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनसँगै आवश्यक कानुनी सुधार गर्न सरकारको ध्यानाकर्षण गराइन्। विशेषगरी बलात्कारजस्तो गम्भीर अपराधमा पीडितले न्याय प्राप्त गर्ने बाटो कुनै पनि अवस्थामा बन्द नहुने सुनिश्चितता गर्नुपर्ने उनको भनाइ थियो।

गच्छदारले राज्यको विश्वसनीयता भाषण वा राहत घोषणाबाट नभई अपराधीमाथि हुने निष्पक्ष र कडा कानुनी कारबाहीबाट स्थापित हुने बताइन्। उनले गरिमा चौधरीजस्ता बालिकामाथि हुने जघन्य अपराध दोहोरिन नदिन सरकारले दीर्घकालीन नीति, प्रभावकारी कानुन र जिम्मेवार प्रशासनिक संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिइन्।

उनका अनुसार पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउनु आवश्यक भए पनि त्यससँगै दोषीलाई कानुनअनुसार सजाय दिलाउने, पीडित परिवारको सुरक्षा सुनिश्चित गर्ने र भविष्यमा यस्ता घटना रोक्न प्रभावकारी कदम चाल्नु राज्यको प्रमुख दायित्व हो।

‘हामी कस्तो समाज बनाइरहेका छौँ ?’ [भिडियाे]

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीन आचार्यले गरिमा चौधरी हत्या प्रकरणमा राज्य र समाज दुवै संवेदनशील बन्न नसकेको भन्दै प्रश्न उठाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले घटनापछि मृतकका परिवार तथा अभियुक्तसँग सम्बन्धित भिडिओहरू सामाजिक सञ्जालमा सार्वजनिक गरिएकोप्रति आपत्ति जनाएका हुन्।

उनले संवेदनशील आपराधिक घटनामा पीडित परिवारको गोपनीयता, सम्मान र मनोवैज्ञानिक अवस्थालाई ध्यान दिनुपर्ने बताए।

घटनाको अनुसन्धान र न्यायिक प्रक्रियालाई प्रभावित पार्ने गरी सम्बन्धित व्यक्तिका भनाइ तथा भिडिओ सार्वजनिक गर्नु उचित नभएको उनको भनाइ थियो।

आचार्यले मृतकका परिवारसँग सम्बन्धित भिडिओ सरकारी निकायमै खिचेर सार्वजनिक हुने र अभियुक्तले मेडिकल परीक्षणका क्रममा बोलेका विषयसमेत सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने अवस्थाप्रति असन्तुष्टि जनाए।

‘मृतकको बुवाआमाले धन्यवाद भनेको भिडिओ मन्त्रालयमा खिचिन्छ र कतै मेडिकल गर्दै गर्दा अभियुक्तले बोलेका कुराहरूलाई सार्वजनिक तरिकाले पब्लिकमा राखिन्छ,’ उनले भने, ‘यस्तो समाज बन्द गरिनुपर्छ।’

आचार्यले घटनालाई केवल अपराध र अनुसन्धानको विषयका रूपमा मात्र नहेरी त्यससँग जोडिएका सामाजिक र मानवीय पक्षप्रति समेत संवेदनशील हुनुपर्नेमा जोड दिए।

उनले यस्ता घटनामा पीडित परिवारको दुःखलाई प्रचारको सामग्री बनाउने, अभियुक्तका अभिव्यक्तिलाई सनसनीपूर्ण रूपमा सार्वजनिक गर्ने तथा सामाजिक सञ्जालमा अपूर्ण सूचना फैलाउने प्रवृत्तिले समाजलाई थप असंवेदनशील बनाउँदै गएको बताए।

‘हामीले कस्तो समाज बनाइरहेका छौँ ?’ भन्दै उनले राज्यका निकाय, सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले संवेदनशील घटनामा आफ्नो जिम्मेवारीबारे गम्भीर हुनुपर्ने बताए।

सरकारले गर्‍यो २७ सहसचिवको सरुवा, काे कहाँ कहाँ? (सूचीसहित)

काठमाडौं । नेपाल सरकारले २७ जना सहसचिवको सरुवा गरेको छ। विभिन्न मन्त्रालय, विभाग तथा सरकारी निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्दै सरकारले सरुवा गरेको हो।

भदौ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले २७ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरूलाई विभिन्न मन्त्रालय तथा निकायमा जिम्मेवारी तोकिएको हो।

सरकारले प्रशासनिक कामकारबाहीलाई प्रभावकारी बनाउने तथा विभिन्न निकायमा जनशक्तिको व्यवस्थापन गर्ने उद्देश्यले सहसचिवहरूको सरुवा गरेको जनाएको छ। सहसचिवहरू प्रशासनिक संयन्त्रमा महत्वपूर्ण जिम्मेवारीमा रहने भएकाले उनीहरूको सरुवालाई नियमित प्रशासनिक प्रक्रियाका रूपमा समेत लिइन्छ।

सरुवा भएका सहसचिवहरूले अब तोकिएका मन्त्रालय तथा निकायमा पुगेर आफ्नो जिम्मेवारी सम्हाल्नेछन्। लामो समयदेखि एउटै निकायमा कार्यरत केही सहसचिवको जिम्मेवारी परिवर्तन गरिएको छ भने आवश्यकताअनुसार विभिन्न सरकारी निकायमा नयाँ जिम्मेवारी दिइएको छ।

मन्त्रिपरिषद्को निर्णयसँगै सम्बन्धित मन्त्रालय तथा निकायहरूले सरुवा भएका सहसचिवलाई रमाना दिने र नयाँ जिम्मेवारीमा पठाउने प्रक्रिया अघि बढाउनेछन्। सहसचिवहरूको सरुवासँगै कतिपय मन्त्रालय तथा सरकारी कार्यालयको प्रशासनिक नेतृत्वमा समेत परिवर्तन हुनेछ।

सरकारले पछिल्लो समय प्रशासनिक संयन्त्रलाई चुस्त बनाउने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने र जिम्मेवारीअनुसार कर्मचारी परिचालन गर्ने विषयलाई प्राथमिकता दिँदै आएको छ। सोही क्रममा गरिएको यो सरुवाले विभिन्न मन्त्रालय तथा सरकारी निकायको कामकारबाहीमा समेत प्रभाव पार्ने देखिएको छ।

२७ सहसचिवको सरुवाको विस्तृत विवरणअनुसार उनीहरूलाई विभिन्न मन्त्रालय, विभाग तथा अन्य सरकारी निकायमा जिम्मेवारी तोकिएको छ। सम्बन्धित निकायमा पुगेर उनीहरूले आफ्नो नयाँ जिम्मेवारी सम्हाल्नेछन्।

बेलग्रेडमा हुने असंलग्न आन्दोलनको स्मरणसभामा नेपाल सहभागी हुँदै

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपालले सर्बियाको राजधानी बेलग्रेडमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभामा सहभागिता जनाउने भएको छ।

आगामी भदौ १५ र १६ गते आयोजना हुने स्मरणसभामा मन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल सहभागी हुने निर्णय सरकारले गरेको हो।

मन्त्रिपरिषद्ले गत साउन २६ गते प्रतिनिधिमण्डल गठन गरी स्मरणसभामा सहभागी हुने निर्णय गरेको थियो।

परराष्ट्र मन्त्रालयका अनुसार उच्चस्तरीय स्मरणसभामा सहभागी हुन मन्त्री खनाल भदौ १४ गते साँझ सर्बिया प्रस्थान गर्ने कार्यक्रम छ। उनी भदौ १७ गते नेपाल फर्किनेछन्।

सन् १९६१ मा असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन बेलग्रेडमै आयोजना भएको थियो। पहिलो शिखर सम्मेलनको ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष सोही सहरमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो।

स्मरणसभामा विश्वका विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुख, उच्चस्तरीय प्रतिनिधिमण्डल र असंलग्न आन्दोलनमा सहभागी राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ। कार्यक्रममा विश्व राजनीतिमा असंलग्न आन्दोलनको भूमिका, वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति तथा सदस्य राष्ट्रबीचको सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

नेपालले लामो समयदेखि आफ्नो परराष्ट्र नीतिको महत्वपूर्ण आधारका रूपमा असंलग्नताको सिद्धान्तलाई अंगीकार गर्दै आएको छ। नेपालको संविधानले समेत राष्ट्रिय हित, सार्वभौमिक समानता तथा असंलग्नताका सिद्धान्तलाई परराष्ट्र नीति सञ्चालनका आधारका रूपमा स्वीकार गरेको छ।

नेपालले असंलग्न आन्दोलनको वाङडुङ सम्मेलनदेखि विभिन्न शिखर सम्मेलन, मन्त्रीस्तरीय बैठक तथा अन्य उच्चस्तरीय कार्यक्रममा निरन्तर सहभागिता जनाउँदै आएको छ। आन्दोलनका गतिविधिमा नेपालले रचनात्मक भूमिका निर्वाह गर्दै आएको परराष्ट्र मन्त्रालयको भनाइ छ।

बेलग्रेडमा हुने यसपटकको स्मरणसभालाई नेपालले आफ्नो परम्परागत असंलग्न परराष्ट्र नीतिप्रतिको प्रतिबद्धता दोहोर्‍याउने तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको धारणा राख्ने अवसरका रूपमा उपयोग गर्ने तयारी गरेको छ।

बदलिँदो विश्व भूराजनीतिक परिस्थिति, शक्ति राष्ट्रबीच बढ्दो प्रतिस्पर्धा र विभिन्न क्षेत्रमा देखिएको तनावका बीच असंलग्न आन्दोलनको सान्दर्भिकतामाथि समेत पछिल्लो समय बहस हुँदै आएको छ।

भारतीय कुखुरा र चल्लाको तस्करी रोक्न माग गर्दै माइतीघरमा किसानको प्रदर्शन

काठमाडौं। भारतीय कुखुरा तथा चल्लाको अवैध तस्करी नियन्त्रण गर्नुपर्ने, बिचौलियाबाट हुने ठगी अन्त्य गर्नुपर्ने र स्वदेशी पोल्ट्री किसानको लगानी संरक्षण गर्नुपर्ने माग गर्दै देशभरका कुखुरापालक किसानले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

किसानहरूले कृषि, वन तथा वातावरण मन्त्रालयमा १२ बुँदे मागपत्र बुझाउँदै पोल्ट्री क्षेत्रका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले उत्पादनको लागत बढ्दै गए पनि बजारमा उचित मूल्य नपाउँदा किसानको लगानी जोखिममा परेको बताएका छन्।

किसानहरूले आफ्ना उत्पादनको मूल्य निर्धारणमा किसानको समेत अधिकार सुनिश्चित गर्नुपर्ने र उत्पादन लागत, जोखिम तथा लगानीलाई आधार बनाएर न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने माग गरेका छन्।

त्यसैगरी भारतबाट संगठित रूपमा भइरहेको कुखुरा तथा चल्लाको अवैध आयात तत्काल नियन्त्रण गर्नुपर्ने उनीहरूको माग छ। खुला सीमाको फाइदा उठाउँदै अवैध रूपमा भित्रिने भारतीय कुखुरा र चल्लाका कारण नेपाली किसानले उत्पादन गरेको वस्तुले बजार नपाउने अवस्था आएको भन्दै उनीहरूले स्वदेशी उत्पादनलाई संरक्षण गर्न सरकारसँग आग्रह गरेका छन्।

किसानहरूले ह्याचरी व्यवसायीले तोकेको मूल्यभन्दा बढी रकम तिरेर चल्ला किन्नुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने बताएका छन्। चल्लाको मूल्य निर्धारण, गुणस्तर र आपूर्तिमा पारदर्शिता कायम गर्नुपर्ने तथा गुणस्तरहीन चल्ला बिक्री गर्ने व्यवसायीमाथि नियमित अनुगमन र कारबाहीको व्यवस्था गर्नुपर्ने माग उनीहरूको छ।

दाना उद्योगबाट पनि किसान ठगिने गरेको भन्दै गुणस्तरीय दाना उपलब्ध गराउनुपर्ने र दानाको गुणस्तरमा समस्या देखिएमा किसानको गुनासो तत्काल सम्बोधन गर्ने प्रभावकारी संयन्त्र बनाउनुपर्ने माग गरिएको छ।

किसानहरूले पोल्ट्री उत्पादन बिक्री गर्ने क्रममा तौल र मूल्यमा हुने ठगी समेत रोक्न सरकारको ध्यानाकर्षण गराएका छन्। काँटा तथा तराजुमा अनियमितता गर्ने, तौल घटाउने र बिचौलियाका नाममा प्रतिकिलो १० देखि २० रुपैयाँसम्म कटौती गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनीहरूको माग छ।

उत्पादन खरिद गर्ने पोल्ट्री स्टोरले समेत किसानलाई मनपरी मूल्य घटाएर भुक्तानी गर्ने गरेको भन्दै यस्तो प्रवृत्तिमाथि नियमन गर्नुपर्ने किसानहरूले बताएका छन्। बिचौलियाको जालमा पारेर किसानको उत्पादनको वास्तविक मूल्यभन्दा कम रकम दिने अवस्था अन्त्य गरी किसानले पाउनुपर्ने रकम पूर्ण रूपमा प्राप्त गर्ने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।

किसानहरूले पोल्ट्री क्षेत्रमा वर्षौंदेखि देखिँदै आएको अर्को समस्या उत्पादन बढी हुँदा मूल्य अत्यधिक घट्ने अवस्थालाई समाधान गर्नुपर्ने बताएका छन्।

उत्पादन बढी भएको समयमा किसानले लागतभन्दा कम मूल्यमा कुखुरा बिक्री गर्नुपर्ने अवस्था अन्त्य गर्न हरेक प्रदेशमा सरकारी वा सहकारी माध्यमबाट कुखुरा भण्डारण केन्द्र स्थापना गर्नुपर्ने माग गरिएको छ।

त्यसैगरी किसानका समस्या, गुनासा र सुझाव सुन्न छुट्टै आयोग वा प्रभावकारी संयन्त्र गठन गर्नुपर्ने माग पनि उनीहरूले अघि सारेका छन्।

किसानले दैनिक रूपमा वास्तविक बजार मूल्यबारे जानकारी पाउने गरी पारदर्शी सूचना प्रणाली लागू गर्नुपर्ने र बजारको माग तथा खपतको अवस्था विश्लेषण गरेर मात्र चल्ला र कुखुराको उत्पादन योजना बनाउने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।

पोल्ट्री व्यवसायलाई व्यावसायिक र दिगो बनाउन किसानलाई आधुनिक प्रविधि, प्राविधिक सेवा तथा विज्ञ परामर्श उपलब्ध गराउने स्थायी व्यवस्था गर्नुपर्ने माग गरिएको छ।

कुखुरामा देखिने विभिन्न रोगको समयमै पहिचान तथा नियन्त्रणका लागि देशका विभिन्न क्षेत्रमा गुणस्तरीय प्रयोगशाला स्थापना गर्नुपर्ने किसानहरूले बताएका छन्। रोगका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था रहेकाले परीक्षण तथा उपचार सेवा किसानको पहुँचमा पुर्‍याउनुपर्ने उनीहरूको जोड छ।

किसानहरूले भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रणदेखि उत्पादनको उचित मूल्य, चल्ला र दानाको गुणस्तर, बजार व्यवस्थापन, बिचौलियाको नियमन तथा रोग नियन्त्रणसम्मका विषयलाई एउटै नीतिगत ढाँचामा सम्बोधन गर्नुपर्ने बताएका छन्।

उनीहरूको भनाइमा पोल्ट्री व्यवसायमा किसानको ठूलो लगानी रहे पनि बजार व्यवस्थापन र सरकारी नियमन कमजोर हुँदा जोखिमको भार भने किसानले मात्रै बोक्नुपरेको छ।

त्यसैले तत्कालीन समस्या समाधानसँगै उत्पादनदेखि बजारसम्मको सम्पूर्ण पोल्ट्री मूल्य शृङ्खला व्यवस्थित गर्ने नीति ल्याउनुपर्ने किसानहरूको माग छ। सरकारबाट ठोस कदम नचालिए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत उनीहरूले दिएका छन्।

भेरी अस्पतालमा एक वर्षमा ८३ जनामा एचआईभी सङ्क्रमण पुष्टि

नेपालगञ्ज। भेरी अस्पताल, नेपालगञ्जमा गत आर्थिक वर्ष २०८२/८३ मा गरिएको एचआईभी परीक्षणका क्रममा ८३ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको छ।

अस्पतालका अनुसार उक्त अवधिमा ७ हजार ८०५ जनाको एचआईभी परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ८३ जनामा सङ्क्रमण पुष्टि भएको हो। अस्पतालका एचआईभी फोकल पर्सन डा. सङ्केतकुमार रिसालका अनुसार नयाँ पहिचान भएका सबै सङ्क्रमितलाई समयमै एआरटी सेवामा आबद्ध गरिएको छ।

अस्पतालले एचआईभी परीक्षण र उपचारसँगै सङ्क्रमण रोकथाम तथा आमाबाट शिशुमा सङ्क्रमण सर्ने सम्भावना न्यूनीकरणलाई प्राथमिकतामा राखेर सेवा दिइरहेको जनाएको छ। गर्भवती महिलाको नियमित परीक्षणसमेत हुँदै आएको अस्पतालले जनाएको छ।

गत आर्थिक वर्षमा दुई गर्भवती महिलामा एचआईभी सङ्क्रमण पुष्टि भएको थियो। उपचारमा रहेका चार एचआईभी सङ्क्रमित आमाले सुरक्षित रूपमा शिशु जन्माएका थिए। परीक्षण गरिएका ती शिशुमा प्रारम्भिक डिएनए पिसिआर परीक्षणबाट एचआईभी सङ्क्रमण नदेखिएको अस्पतालले जनाएको छ।

नेपाल सरकारले सन् २०१७ देखि लागू गरेको ‘टेस्ट एन्ड ट्रिट’ नीतिअनुसार एचआईभी सङ्क्रमण पुष्टि भएपछि उपचार सुरु गर्न ढिलाइ नगर्ने व्यवस्था छ। सोहीअनुसार भेरी अस्पतालमा नयाँ पहिचान भएका सबै सङ्क्रमितलाई एआरटी सेवामा जोडिएको डा. रिसालले बताए।

भेरी अस्पतालमा एचआईभीका लागि एआरटी सेवा २०६१ साल फागुनदेखि सञ्चालनमा छ। अस्पतालका अनुसार हालसम्म १ हजार ८०० भन्दा बढी व्यक्तिले एआरटी सेवा लिइसकेका छन्। गत आर्थिक वर्षसम्म ६५१ जना नियमित उपचारमा रहेका थिए।

नियमित उपचारमा रहेका सेवाग्राहीमध्ये ९५ प्रतिशतले पछिल्लो १२ महिनामा भाइरल लोड परीक्षण गराएका थिए। परीक्षण गराउनेमध्ये ९९ प्रतिशतको भाइरल लोड नियन्त्रणमा रहेको अस्पतालले जनाएको छ।

एचआईभीसँग बाँचिरहेका व्यक्तिका लागि सरकारले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा पनि भेरी अस्पतालको एआरटी क्लिनिकले ६३१ भन्दा बढी सेवाग्राहीलाई आबद्ध गरिसकेको छ।

अस्पतालबाट एचआईभी परामर्श तथा परीक्षण, एआरटी औषधि, अवसरवादी सङ्क्रमणको उपचार, क्षयरोग तथा यौनजन्य सङ्क्रमणसम्बन्धी सेवा उपलब्ध हुँदै आएको छ।

यद्यपि एचआईभीको ढिलो पहिचान, उपचार सुरु गर्न हुने ढिलाइ, स्वास्थ्य क्षेत्रमा अझै कायम लाञ्छना तथा भेदभाव र बसाइँसराइका कारण उपचार निरन्तरतामा आउने समस्या चुनौतीका रूपमा रहेको डा. रिसालले बताएका छन्।

भेरी अस्पतालको एआरटी क्लिनिकले पछिल्ला तीन आर्थिक वर्षदेखि न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा शतप्रतिशत अंक प्राप्त गर्दै आएको अस्पतालले जनाएको छ।

नयाँ सङ्क्रमितको समयमै पहिचान, तत्काल उपचारमा आबद्धता र उपचारको निरन्तरतामा जोड दिइए पनि एचआईभी नियन्त्रणका लागि परीक्षणको पहुँच विस्तारसँगै सामाजिक लाञ्छना र भेदभाव न्यूनीकरणमा समेत ध्यान दिनुपर्ने देखिएको छ।

ट्रम्पको दबाबले तेलमा गिरावट

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप कडा आर्थिक कारबाही घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा त्यसको प्रारम्भिक प्रभाव देखिएको छ । सोमबार एसियाली बजारका अधिकांश प्रमुख सूचक ओरालो लागेका छन् भने कच्चा तेलको मूल्यमा समेत गिरावट आएको छ ।

एसियाली बजारमा दक्षिण कोरियाको प्रविधि क्षेत्र केन्द्रित कोस्पी सूचकाङ्क १.४ प्रतिशतले घटेको छ । टोकियो, साङ्घाई, ताइपेई र वेलिङ्टनका बजारमा पनि गिरावट देखिएको छ । यता सिड्नी, जकार्ता र बैङ्ककका बजार भने बढेका छन् । मनिला र क्वालालम्पुरका बजारमा उल्लेख्य परिवर्तन देखिएको छैन ।

अमेरिकाले इरानमाथि आर्थिक दबाब बढाउने घोषणा गरेपछि लगानीकर्ताको ध्यान त्यसबाट विश्व अर्थतन्त्र, ऊर्जा बजार र मुद्रास्फीतिमा पर्न सक्ने प्रभावतर्फ केन्द्रित भएको छ । अमेरिकी प्रशासनले आफ्ना सहयोगी राष्ट्रसँगै चीनलाई समेत इरानमाथिको आर्थिक दबाब अभियानमा सहभागी हुन आग्रह गरेको छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि थप आर्थिक प्रतिबन्ध तथा दबाबका योजनाबारे जानकारी दिने अपेक्षा गरिएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानमाथि आर्थिक दबाब बढाउने अभियानलाई ‘नाजुक नृत्य’ जस्तो भएको टिप्पणी गरेका छन् ।

इरानसम्बन्धी घटनाक्रमको प्रभाव ऊर्जा बजारमा पनि परेको छ । सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य २.३ प्रतिशतले घटेर प्रतिब्यारेल करिब ९२ अमेरिकी डलरमा झरेको छ । अमेरिकी कच्चा तेलको मूल्यमा पनि करिब समान दरले गिरावट आएको छ ।

यसैबीच, विश्व बजारको अर्को ठूलो चासो अमेरिकी चिप निर्माता एनभिडियाको आगामी आम्दानी प्रतिवेदनमा देखिएको छ । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा विश्वभर लगानी तीव्र भइरहेका बेला एनभिडियाको व्यापारिक प्रदर्शनले एआई क्षेत्रमा भइरहेको ठूलो लगानीको वास्तविक प्रतिफल कस्तो छ भन्ने संकेत दिने अपेक्षा गरिएको छ ।

एसपीआई एसेट म्यानेजमेन्टका स्टेफन इनिसका अनुसार एआई क्षेत्रमा लगानी जारी रहे पनि त्यसको लागत लगातार बढिरहेको छ । एनभिडियासहितका कम्पनीले ठूलो लगानीबाट पर्याप्त प्रतिफल हासिल गर्न सक्ने क्षमता प्रमाणित गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

चिनियाँ प्रविधि कम्पनी अलिबाबाले पनि एआई पूर्वाधार विस्तारमा ठूलो लगानी गर्ने तयारी गरेको छ । कम्पनीले हङकङमा १०.२ अर्ब अमेरिकी डलर बराबरको नयाँ शेयर निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ । उक्त रकम विश्वव्यापी एआई पूर्वाधार तथा प्रविधि विस्तारमा प्रयोग गर्ने अलिबाबाको योजना छ ।

तर हङकङको शेयर बजारमा भने यसको सकारात्मक प्रभाव देखिएन । सोमबार हङकङको सेयर बजार दुई प्रतिशतभन्दा बढीले घटेको छ । ‘फास्ट फेसन’ कम्पनी शिनले आगामी सेप्टेम्बर १ मा हङकङमा शेयर सूचीकरण गर्ने घोषणा गरे पनि त्यसले बजारको गिरावट रोक्न सकेन । सूचीकरणपछि कम्पनीको मूल्याङ्कन करिब २७ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

विश्व बजारमा लगानीकर्ताको अर्को ध्यान अमेरिकी केन्द्रीय बैंकका अधिकारी, अर्थशास्त्री तथा वित्तीय क्षेत्रका प्रमुखहरू सहभागी हुने ज्याक्सन होलको वार्षिक भेलातर्फ पनि छ । उक्त भेलाबाट अमेरिकी मौद्रिक नीतिको आगामी दिशा, ब्याजदर तथा मुद्रास्फीतिबारे थप संकेत प्राप्त हुने अपेक्षा गरिएको छ ।

यसबीच अमेरिकी मुद्रास्फीति र बढ्दो सरकारी ऋणले पनि वित्तीय बजारमा दबाब सिर्जना गरिरहेको छ । अमेरिकी संघीय ऋण ४० ट्रिलियन अमेरिकी डलरभन्दा माथि पुगेको अवस्थामा अमेरिकी ट्रेजरी बन्डको प्रतिफल बढेको छ ।

यसरी इरानमाथि अमेरिकी आर्थिक दबाब, ऊर्जा बजारमा तेलको मूल्यमा आएको उतारचढाव, एआई क्षेत्रमा भइरहेको विशाल लगानी तथा अमेरिकी मौद्रिक नीतिबारेको अनिश्चितताले एकैपटक विश्व वित्तीय बजारलाई प्रभावित गरिरहेको छ ।

निजी कार, जीप, भ्यानलाई आजदेखि नागढुंगा सुरुङ खुला (फोटो-फिचर)

काठमाडौं। एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा सुरुङ मार्ग सोमबारदेखि निजी सवारी साधनका लागि पनि सञ्चालनमा ल्याइएको छ ।

९ जनासम्म यात्रु क्षमता भएका कार, जीप, भ्यानलगायत निजी सवारीलाई सोमबारदेखि सुरुङ प्रयोग गरेर काठमाडौँ–धादिङ आउजाउ खुला गरिएको हो ।

उद्घाटनको समयदेखि आपतकालीन सवारीलाई मात्र सुरुङ प्रयोग गर्न दिइएको थियो । सोमबार बिहान ९ बजेदेखि इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी प्लेटका सवारीसहित ९ सिटसम्मका निजी सवारी साधनलाई आवागमन खुला गरिएको नागढुंगा सुरुङ मार्ग सुरक्षा यूनिटका उपप्रमुख कविराज श्रेष्ठले बताए ।

परीक्षणस्वरुप यी सवारीलाई निश्चित समयका लागि सुरुङ मार्ग प्रवेश खोलिएको हो । यसपछि अन्य सवारीलाई पनि क्रमशः सुरुङ खुला गर्ने तयारी छ । ‘परीक्षणका लागि सञ्चालनमा ल्याएका छौँ । अब यो हप्ता विश्लेषण गर्छौं । चालकलाई सवारी चलाउँदाको समस्या, अनुभव के–के भयो भन्ने बुझ्छौँ,’ उनले भने ।

तत्कालका लागि निजी सवारीलाई पनि कुनै शुल्क नलाग्ने श्रेष्ठले बताए । उनकाअनुसार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सुरुङ सञ्चालन गरिने छ । आज बिहानदेखि गुर्जुधारास्थित फ्लाइओभरको बाटो पनि सञ्चालन गरिएको उनले जानकारी दिए ।

सुरुङभित्र सवारी चलाउँदा निश्चित नियम निर्धारण गरिएको छ । प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी गतिमा नचलाउन, सवारीको हेडलाइट बाल्न, गाडी टनेलभित्र नरोक्न, ओभरटेक गर्न नपाइने नियम राखिएको छ । सुरुङको नियमित सञ्चालनका लागि सुरक्षा यूनिट, शुल्क संकलन गर्ने यूनिटसहित सुरुङभित्रका गतिविधि सीसीटीभीमार्फत निगरानी गरेर आन्तरिक तयारी भइरहेको श्रेष्ठले सुनाए ।

करिब २९ अर्ब रुपैयाँ लगानीमा निर्मित मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग शिलान्यासको ७ वर्षपछि साउन ११ मा उद्घाटन गरिएको थियो । नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनील लम्सालले सुरुङको उद्घाटन गरेका थिए ।

२०७६ कार्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए । प्रारम्भिक सम्झौताअनुसार यसको निर्माण ४२ महिनामा सकिनुपर्ने थियो । कोभिड–१९, मुआब्जा विवादलगायत कारणले निर्माणमा ढिलाइ हुन पुग्यो ।

शिलान्यासको करिब ४ वर्षपछि २०८० साउन २२ मा ‘रेस्क्यु टनेल’को ब्रेक थ्रु गरिएको थियो । ‘रेस्क्यु टनेल’ ब्रेक थ्रुको १० महिनापछि मुख्य टनेल ब्रेक थ्रु गरियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले २०८१ असार ३ मा मुख्य टनेलको ब्रेक थ्रु गरेका थिए । मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर छ । यसबाहेक २.५५७ किलोमिटरको आपतकालीन सुरुङ छ ।

पैदलयात्री, दुई पाङग्रे सवारी, डिजेल, पेट्रोलसहित प्रज्वलनशील पदार्थ ढुवानी गर्ने सवारी सुरुङ मार्गभित्र चल्न पाउँदैनन् ।

सुरुङ प्रयोग निशुल्क भने होइन । नियमित सञ्चालनमा आएपछि काठमाडौं भित्रिँदा र बाहिरिँदा काररभ्यानले क्रमशः ६५ र ६० रुपैयाँ तिर्नुपर्छ । मिनीबस, टिपरले भित्रिँदा १ सय १५, बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकले भित्रिँदा २ सय ६०, बाहिरिँदा २ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसबाहेक हेभी ट्रकले भित्रिँदा ६ सय र बाहिरिँदा २ सय ५० रुपैयाँ तिर्नुपर्ने गरी सरकारले शुल्क निर्धारण गरेको छ ।

जापान सरकारको साढे १६ अर्ब र नेपाल सरकारको ६ अर्ब लगानीमा यो सुरुङ निर्माण गर्ने गरी सम्झौता भएको थियो । तर, निर्माणको चरणमा प्रवेश गरेपछि लागत बढ्यो ।

यसपछि जापानले फेरि ५ अर्ब ऋण सहायता थपिदिएको थियो । यो आयोजना निर्माणको ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो ।

खानी तथा खनिज विधेयकमा ३५, राहदानी विधेयकमा १७ संशोधन

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभामा विचाराधीन दुई महत्वपूर्ण विधेयकमा उल्लेख्य सङ्ख्यामा संशोधन प्रस्ताव दर्ता भएका छन् ।

प्रतिनिधिसभामा अगाडि बढेको ‘खानी तथा खनिज पदार्थ विधेयक’मा ३५ वटा र ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’मा १७ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।

संसद् सचिवालयका अनुसार दर्ता भएका संशोधन प्रस्तावहरू एकल र समूहगत रूपमा आएका छन् । अहिले ती प्रस्तावलाई छुट्याएर एकीकृत गर्ने काम भइरहेको छ ।

सङ्घीय संसद् सचिवालयको विधेयक शाखा (प्रतिनिधिसभा)का शाखा अधिकृत जयराम खड्काका अनुसार संशोधन प्रस्तावहरूलाई प्रक्रियागत रूपमा अघि बढाउन केही समय लाग्नेछ ।

‘हामी अहिले एकल वा समूहगत रूपमा प्राप्त भएका प्रस्तावहरूलाई एकीकृत गर्दैछौँ । यो प्रक्रिया पूरा भएपछि मात्रै छलफलका लागि अगाडि बढ्छ,’ खड्काले बताए ।

संसदीय प्रक्रियाअनुसार संशोधन प्रस्तावहरू एकीकृत गरेपछि सम्बन्धित समितिमा छलफल तथा आवश्यक प्रक्रियाबाट विधेयक अघि बढ्नेछन् ।

दुवै विधेयकमा ठूलो सङ्ख्यामा संशोधन प्रस्ताव पर्नुले विधेयकका प्रावधानमाथि सांसदहरूको चासो र फरक दृष्टिकोण रहेको देखाएको छ । अब ती संशोधन प्रस्तावमध्ये कुन स्वीकार हुने र कुन अस्वीकार हुने भन्ने विषय सम्बन्धित संसदीय प्रक्रियाबाट टुंगो लाग्नेछ ।

विशेषगरी खानी तथा खनिज पदार्थसम्बन्धी कानुनी व्यवस्था र राहदानीसम्बन्धी विद्यमान प्रावधान संशोधन गर्न ल्याइएका विधेयकमा सांसदहरूले प्रस्ताव गरेका संशोधनले विधेयकको अन्तिम स्वरूपमा समेत प्रभाव पार्न सक्नेछ ।

संसद् सचिवालयले संशोधन प्रस्ताव एकीकृत गर्ने काम पूरा गरेपछि मात्रै दुवै विधेयकमा औपचारिक छलफल अघि बढ्ने जनाएको छ ।

देवानगञ्ज–कप्तानगञ्ज घटना प्रतिवेदन : गोली चलाउने आदेश कसको?

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा गोली चलाउने आदेश कसले दिएको थियो ? स्थलगत अध्ययन गरी गृह मन्त्रालयमा बुझाइएको प्रारम्भिक प्रतिवेदनले यही प्रश्नलाई घटनाको छानबिनको महत्वपूर्ण पाटोका रूपमा अघि सारेको छ ।

प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपककुमार साह नेतृत्वको टोलीले तयार पारेको प्रतिवेदनमा सुरक्षाकर्मीले गोली चलाउनुअघि अपनाइएको प्रक्रिया, आदेशको स्रोत र त्यसको जिम्मेवारीबारे प्रमाणमा आधारित अनुसन्धान गर्नुपर्ने सुझाव दिइएको छ । प्रतिवेदन गृह मन्त्रालयका मन्त्री गुरुङसमक्ष पेस भइसकेको छ ।

प्रतिवेदनले गोली चलाउने आदेश मौखिक थियो कि लिखित, आदेश दिने अधिकारी को थिए, आदेश दिने व्यक्ति घटनास्थलमा थिए कि थिएनन् र कुन परिस्थितिमा गोली चलाउन निर्देशन दिइयो भन्ने विषय यकिन गर्नुपर्ने उल्लेख गरेको छ । भीड नियन्त्रणका क्रममा गोली चलाउनुअघि चेतावनी दिइएको थियो कि थिएन, लाठीचार्ज, अश्रुग्यास वा अन्य कम घातक उपाय प्रयोग गरिएको थियो कि थिएन र हवाई फायरपछि मात्र घातक बल प्रयोग गरिएको हो कि होइन भन्ने विषयसमेत अनुसन्धानको दायरामा राख्न सुझाव दिइएको छ ।

घटनामा प्रयोग भएका हतियार तथा गोलीका खोका, ब्यालिस्टिक परीक्षण, घटनास्थलको फरेन्सिक परीक्षण, सुरक्षाकर्मीबीचको वायरलेस संवाद, ड्युटी विवरण र घटनास्थलका भिडियो फुटेज अनुसन्धानका महत्वपूर्ण प्रमाण हुनसक्ने प्रतिवेदनमा उल्लेख छ । मृतक तथा घाइतेको मेडिकल र पोस्टमार्टम रिपोर्टलाई समेत गोली प्रहारको विवरणसँग मिलाएर हेर्नुपर्ने सुझाव दिइएको छ ।

गोली चलाउनु परेको अवस्थासम्म घटना कसरी पुग्यो भन्ने प्रश्न पनि प्रतिवेदनले उठाएको छ । कप्तानगञ्ज क्षेत्रमा तनावको सम्भावना वा जोखिमबारे सुरक्षा निकायलाई पहिले नै सूचना थियो कि थिएन भन्ने विषयमा स्थानीय तह, जिल्ला प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा परेका उजुरी तथा प्राप्त सूचनाको अभिलेख झिकाएर अध्ययन गर्नुपर्ने सुझाव दिइएको छ ।

यदि घटनाअघि नै जोखिमबारे जानकारी थियो भने पर्याप्त सुरक्षा जनशक्ति किन परिचालन भएन ? रिजर्भ टोली तयारी अवस्थामा थियो कि थिएन ? संवेदनशील स्थानको सुरक्षा योजना बनाइएको थियो कि थिएन ? प्रतिवेदनले यस्ता प्रश्नको समेत जवाफ खोज्नुपर्ने संकेत गरेको छ ।

घटनाअघि सुरक्षा निकायसम्म सूचना पुगेको भए त्यसलाई कसले मूल्यांकन गर्‍यो र त्यसअनुसार निर्णय कसले गर्‍यो भन्ने विषय पनि ‘चेन अफ कमान्ड’सँग जोडिन्छ ।

प्रतिवेदनले घटनामा गोली चलाउने व्यक्तिसम्म अनुसन्धान सीमित गर्न नहुने संकेत गरेको छ । गोली चलाउने सुरक्षाकर्मीले आदेश पालना गरेका हुन् वा परिस्थितिअनुसार आफैं निर्णय गरेका हुन् भन्ने यकिन हुनुपर्ने देखिन्छ ।

यदि माथिल्लो तहबाट आदेश आएको हो भने आदेश दिने अधिकारी को हुन् ? आदेश कुन आधारमा दिइयो ? त्यसबेला उपलब्ध सूचना के थियो ? र आदेश कानुनी प्रक्रिया तथा बल प्रयोगसम्बन्धी मापदण्डअनुकूल थियो कि थिएन ? यही विषयले घटनाको वास्तविक जिम्मेवारी निर्धारण गर्नेछ ।

त्यसैले गोली चलाउने हातभन्दा पहिले आदेशको स्रोत पहिल्याउनु आवश्यक देखिएको छ ।

कप्तानगञ्ज घटनाको प्रारम्भिक प्रतिवेदनले घटनापछि राजनीतिक व्यक्तित्व, स्थानीय अगुवा, अभियन्ता तथा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट आएका भनिएका अभिव्यक्तिले समेत स्थानीय वातावरण थप संवेदनशील बनाएको गुनासो प्राप्त भएको उल्लेख गरेको छ ।

प्रतिवेदनमा सो क्षेत्रका रास्वपा प्रतिनिधिसभा सदस्य लालविक्रम थापा, तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा स्थानीय व्यक्तिहरू चन्दन मेहता, कुन्दन मेहता र रामकुमार मेहताबाट सामाजिक सञ्जाल वा सार्वजनिक रूपमा आएका भनिएका अभिव्यक्तिलाई अनुसन्धानका क्रममा परीक्षण गर्न सुझाव दिइएको छ ।

तर प्रतिवेदनले यी व्यक्तिहरूलाई दोषी ठहर गरेको छैन । उनीहरूबाट आएका भनिएका अभिव्यक्ति वास्तविक हुन् कि होइनन्, कुन सन्दर्भमा दिइएका हुन् र त्यसको घटनासँग प्रत्यक्ष सम्बन्ध थियो कि थिएन भन्ने विषय प्रमाणका आधारमा परीक्षण गर्नुपर्ने सुझाव मात्र दिइएको हो ।

यसका लागि सामाजिक सञ्जालका मूल सामग्री, पोस्टको समय, भिडियो वा अडियोको वास्तविकता, त्यसको प्रसार र घटनाको वातावरणमा परेको प्रभावसमेत अनुसन्धान गर्नुपर्ने हुन्छ ।

घटनापछि गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । फरेन्सिक तथा ब्यालिस्टिक पक्ष अध्ययन गर्न पछि थप सदस्यसमेत समावेश गरिएको जनाइएको छ ।

सांसद साह नेतृत्वको टोलीले गरेको स्थलगत अध्ययनबाट प्राप्त विवरण उच्चस्तरीय छानबिन समितिसँग आदानप्रदान गर्नसमेत प्रारम्भिक प्रतिवेदनले सुझाव दिएको छ । प्रमाण दोहोरिन नदिने, प्रमाण नष्ट हुन नदिने र एउटै तथ्यमा फरक–फरक निष्कर्ष आउने अवस्था रोक्न दुवै अनुसन्धानबीच समन्वय आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन सांसद दीपककुमार साहसहित वीरेन्द्र केएम, रास्वपाका स्थानीय नेता त्रिलोकनाथ गुप्ता र पत्रकार ब्रह्मदेव मेहताले तयार पारेका हुन्।

महावीर पुन चुनाव नउठेको भए ज्यानकै खतरा थियो?

काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक, म्याग्दीबाट निर्वाचित सांसद तथा बहालवाला नवप्रवर्तनमन्त्री महावीर पुनको राजनीतिक यात्राबारे गम्भीर दाबी सार्वजनिक भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका म्याग्दी इन्चार्ज गोविन्द पौडेलले पत्रकार राजेन्द्र बानियाँसँगको कुराकानीमा पुनको चुनावी उम्मेदवारी राजनीतिक रहर वा पूर्वयोजनाअनुसार नभएको दाबी गरेका छन् ।

उनका अनुसार पुनलाई एउटा बाध्यात्मक परिस्थितिका कारण चुनावी मैदानमा आउनुपरेको थियो ।

पौडेलले पुन चुनावमा नउठेको भए उनको ज्यानमै जोखिम उत्पन्न हुनसक्ने अवस्था रहेको दाबी गरेका छन् ।

‘महावीर पुन चुनावमा उठाइएका हुन् । उनी चुनाव नउठेको भए ज्यानको खतरा थियो, उनलाई बाध्यात्मक अवस्था आइलागेको हो,’ पौडेलले भनेका छन् ।

पौडेलको यो भनाइसँगै विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा लामो समय काम गरेका पुन राजनीतिमा कसरी आए भन्ने प्रश्न फेरि चर्चामा आएको छ ।

महावीर पुनको सार्वजनिक पहिचान राजनीतिभन्दा विज्ञान, प्रविधि र अनुसन्धानसँग जोडिएको छ । राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर स्वदेशमै अनुसन्धान र आविष्कारको वातावरण बनाउन उनले लामो समय अभियान चलाएका थिए ।

यस्तो पृष्ठभूमिका व्यक्ति चुनावी राजनीतिमा आउनुलाई त्यतिबेला पनि चासोका साथ हेरिएको थियो । तर उनको उम्मेदवारीको पछाडि ‘ज्यानकै खतरा’ जोडिएको पौडेलको दाबीले राजनीतिक प्रवेशको पृष्ठभूमिमाथि थप प्रश्न खडा गरेको छ ।

यदि पौडेलको दाबीलाई आधार मान्ने हो भने पुनको राजनीतिक यात्रा व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि कुनै विशेष परिस्थितिको परिणाम थियो भन्ने देखिन्छ । तर त्यस्तो परिस्थिति के थियो भन्ने विषयमा पौडेलले स्पष्ट विवरण भने दिएका छैनन् ।

पौडेलले पुनको ज्यान जोखिममा पर्नसक्ने अवस्था रहेको बताए पनि त्यो खतरा कसबाट थियो, किन उत्पन्न भयो र चुनावमा उम्मेदवार बनेपछि कसरी त्यो जोखिम कम भयो भन्ने खुलाएका छैनन् ।

त्यसैगरी पुनलाई चुनाव लड्न कसले दबाब दियो वा कुन घटनाक्रमका कारण यस्तो बाध्यात्मक अवस्था सिर्जना भयो भन्ने विषय पनि सार्वजनिक भएको छैन ।

त्यसैले पौडेलको भनाइ अहिले एउटा राजनीतिक दाबीका रूपमा मात्र आएको छ। यसबारे पुन स्वयं वा सम्बन्धित अन्य पक्षबाट थप स्पष्ट धारणा सार्वजनिक हुन बाँकी छ ।

पुनको राजनीतिक यात्रा सामान्य नेताको जस्तो परम्परागत बाटोबाट भएको थिएन । लामो समय विज्ञान तथा प्रविधिको क्षेत्रमा सक्रिय रहेका उनी अनुसन्धान, आविष्कार र स्वदेशी प्रविधिको विकासलाई प्राथमिकतामा राख्दै आएका व्यक्ति हुन् ।

राष्ट्रिय आविष्कार केन्द्रमार्फत उनले युवालाई अनुसन्धानतर्फ आकर्षित गर्ने, स्थानीय आवश्यकता सम्बोधन गर्ने प्रविधि विकास गर्ने तथा नेपालमै आविष्कारको वातावरण निर्माण गर्ने प्रयास गर्दै आएका छन् ।

यही पृष्ठभूमिबाट उनी निर्वाचनमा उम्मेदवार बनेर संसद्मा पुगे । त्यसपछि सरकारमा समेत सहभागी भई नवप्रवर्तनसँग सम्बन्धित जिम्मेवारी सम्हालिरहेका छन्।

ताँजाकोट गाउँपालिका कार्यालयमा मध्यराति आगलागी,महत्वपूर्ण कागजात खरानी

काठमाडौं। हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा मध्यराति आगलागी हुँदा महत्वपूर्ण कागजात तथा कार्यालयका सामग्री जलेर नष्ट भएका छन् ।

प्रहरीका अनुसार आइतबार राति करिब पौने २ बजेतिर गाउँपालिकाको कार्यालयमा अचानक आगलागी भएको हो । आगलागी भएको थाहा पाएलगत्तै स्थानीयवासी र प्रहरी टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए ।

गाउँपालिकाका कर्मचारी बस्ने घर नजिकै कार्यालय रहेकाले समयमै स्थानीय र प्रहरी पुगेपछि आगो थप फैलिनबाट रोकिएको स्थानीय व्यवसायी नरवीर थापाले बताए । तर आगलागीबाट कार्यालयभित्र भने ठूलो क्षति पुगेको छ ।

प्रशासन तथा जिन्सी शाखा प्रमुख विष्णुलाल सार्कीका अनुसार प्रारम्भिक रूपमा विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट जिन्सी शाखा, लेखा शाखा र न्यायिक समितिको सचिवालयमा रहेका अधिकांश कागजात तथा सामग्री जलेर नष्ट भएका छन् ।

जिन्सी शाखामा राखिएका ब्याट्री पड्किँदा आगो थप फैलिएको र क्षति बढेको बताइएको छ । भवनमा जडान गरिएका विद्युतीय तार तथा बल्बसमेत जलेका छन् ।

गत वर्ष मात्रै उद्घाटन गरिएको उक्त प्रशासनिक भवनलाई ताँजाकोटमा नमुना भवनका रूपमा लिइन्थ्यो । भवनको तल्लो तलामा जिन्सीलगायत शाखाहरू सञ्चालनमा थिए भने माथिल्लो तलामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतका कार्यकक्ष रहेका थिए ।

आगलागीबाट सरकारी कागजात र कार्यालयका सामग्रीमा ठूलो क्षति पुगेपछि गाउँपालिकाको नियमित प्रशासनिक कामसमेत प्रभावित हुने देखिएको छ ।

आगलागीको वास्तविक कारणबारे भने प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रारम्भिक रूपमा विद्युत् सर्टको आशंका गरिए पनि घटनाको विस्तृत अनुसन्धानपछि मात्रै कारण यकिन हुने प्रहरीले जनाएको छ ।

१५ वर्षदेखि अधुरै कमला पुल [फोटो-फिचर]

सिरहा। हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा छुट्याउने कमला नदीमा निर्माणाधीन पक्की पुल १५ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । पुल अलपत्र परेपछि स्थानीय बासिन्दादेखि हुलाकी राजमार्ग हुँदै आवतजावत गर्ने यात्रुसम्मले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।

पुल नहुँदा सडकबाट सहजै गन्तव्य पुग्न सकिने यात्रुहरू बीच बाटोमै कमला नदी तर्नुपर्ने बाध्यतामा छन् । नदीमा पानीको बहाव कम भएका बेला पनि सहज वारपारको व्यवस्था छैन भने वर्षायाममा समस्या झन् गम्भीर बन्ने गरेको छ ।

यात्रुहरू अहिले डुंगाको सहारा लिएर नदी वारपार गर्छन् । एकपटक नदी तर्दा करिब एक सय रुपैयाँसम्म खर्च हुने यात्रुहरू बताउँछन् । मोटरसाइकलसहित नदी पार गर्नुपर्ने भएकाले यात्रुको खर्चसँगै जोखिम पनि थपिने गरेको छ ।

वर्षायाममा कमला नदीको बहाव बढेपछि डुंगाबाट वारपार गर्नसमेत जोखिम हुने गरेको स्थानीयको भनाइ छ । आकस्मिक रूपमा अस्पताल, बजार वा अन्य आवश्यक सेवाका लागि हिँडेका नागरिकले समेत नदीकै कारण थप समय र खर्च व्यहोर्नुपरेको छ ।

कमला नदीमा पक्की पुल बनेपछि सिरहा, धनुषासहित मधेसका विभिन्न जिल्लाबीचको आवागमन सहज हुने अपेक्षा गरिएको थियो । हुलाकी राजमार्गको प्रयोग बढ्ने, स्थानीय व्यापार विस्तार हुने तथा कृषि उपज ढुवानीमा सहजता आउने आशा थियो । तर, पुल निर्माणमा भएको ढिलाइले ती अपेक्षा अझै अधुरै छन् ।

पुल निर्माण सम्पन्न नहुँदा हुलाकी राजमार्गको महत्वपूर्ण खण्ड नै प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । दैनिक यात्रा गर्ने नागरिकले लामो समयदेखि अस्थायी उपायमा निर्भर हुनुपरेको छ ।

स्थानीय बासिन्दाले निर्माणमा भइरहेको ढिलाइको कारण पहिचान गरी तत्काल काम अघि बढाउन माग गर्दै आएका छन् । उनीहरूले वर्षौँसम्म आयोजना अलपत्र पार्दा त्यसको प्रत्यक्ष भार सर्वसाधारणमाथि परेको भन्दै निर्माणमा जिम्मेवार पक्षलाई जवाफदेही बनाउनुपर्ने बताएका छन् ।

१५ वर्षदेखि निर्माणाधीन कमला पुल कहिले पूरा हुन्छ भन्ने अझै निश्चित छैन । पुल बन्न नसक्दा सडकको यात्रा नदीको किनारमा आएर रोकिने र यात्रु फेरि डुंगाको सहारा लिनुपर्ने अवस्था छ ।

हुलाकी राजमार्गलाई पूर्ण रूपमा सञ्चालनयोग्य बनाउन तथा सिरहा-धनुषाबीचको आवागमन सहज बनाउन कमला पुलको निर्माण अब पनि अनिश्चित समयसम्म अलपत्र राख्न नहुने स्थानीयको माग छ।


 

इमरान खानको स्वास्थ्यप्रति चिन्ता जनाउँदै २१ पूर्वकप्तानले लेखे शहबाजलाई पत्र

काठमाडौं। पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पूर्वक्रिकेट कप्तान इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै विश्व क्रिकेटका २१ जना पूर्वकप्तानले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफलाई पत्र लेखेका छन्।

पूर्वकप्तानहरूले पत्रमार्फत जेलमा रहेका इमरानलाई उचित स्वास्थ्य उपचार तथा आवश्यक चिकित्सा सुविधा उपलब्ध गराउन प्रधानमन्त्री शहबाजसँग आग्रह गरेका हुन्।

‘क्रिकइन्फो’का अनुसार पत्रमा पाकिस्तानको सर्वोच्च अदालतले इमरान खानलाई अस्पताल लगेर मेडिकल बोर्डमार्फत स्वास्थ्य परीक्षण गराउन दिएको आदेश कार्यान्वयन नभएको दाबी गरिएको छ। अदालतले गठन गर्ने मेडिकल बोर्डमा इमरानका निजी चिकित्सक तथा उनकी बहिनी डा. उज्मा खानलाई समेत सहभागी गराउन निर्देशन दिएको थियो। साथै, इमरानको परिवारसँग साप्ताहिक भेटघाटको व्यवस्था पुनः सुरु गर्न पनि अदालतले आदेश दिएको उल्लेख गरिएको छ।

तर, पूर्वकप्तानहरूले अदालतको आदेशअनुसार इमरानलाई अस्पतालमा राखेर परीक्षण नगरिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार इमरानलाई अस्पतालमा केही घण्टामात्र राखिएको थियो भने अदालतको आदेशअनुसार गठन गरिएको मेडिकल बोर्डको सट्टा सरकारले नियुक्त गरेको चिकित्सकीय टोलीले उनको स्वास्थ्य परीक्षण गरेको थियो।

उक्त टोलीले इमरानलाई ‘चिकित्सकीय रूपमा स्वस्थ’ घोषणा गरेपछि उनलाई पुनः अदियाला जेल पठाइएको पूर्वकप्तानहरूको दाबी छ। उनीहरूले अदालतको आदेश पूर्ण रूपमा कार्यान्वयन गर्न र इमरानको स्वास्थ्य अवस्थालाई गम्भीरतापूर्वक लिन पाकिस्तानी सरकारसँग आग्रह गरेका छन्।

प्रधानमन्त्री शहबाजलाई पूर्वकप्तानहरूले पत्र लेखेको यो दोस्रो पटक हो। यसअघि गत १४ फेब्रुअरीमा १४ जना पूर्वकप्तानले इमरानको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै शहबाजलाई पत्र पठाएका थिए।

त्यस समयमा इमरानको परिवारले उनको आँखामा गम्भीर समस्या देखिएको र एउटा आँखाको दृष्टि लगभग पूर्ण रूपमा गुमेको दाबी गरेको थियो। परिवारले जेलमा रहँदा उनले आवश्यक स्वास्थ्य उपचार नपाएको आरोपसमेत लगाएको थियो।

इमरान खान पाकिस्तानका पूर्वप्रधानमन्त्री मात्र नभई देशका चर्चित क्रिकेट कप्तानसमेत हुन्। उनको नेतृत्वमा पाकिस्तानले सन् १९९२ को विश्वकप क्रिकेटको उपाधि जितेको थियो। त्यसैले उनको स्वास्थ्य अवस्थालाई लिएर विश्व क्रिकेट जगतका पूर्वखेलाडीहरूले समेत चासो देखाएका हुन्।

पत्र लेख्ने २१ पूर्वकप्तान

पत्रमा हस्ताक्षर गर्ने पूर्वकप्तानहरूमा माइकल एथर्टन, एलेक्स ब्ल्याकवेल, एलन बोर्डर, माइकल ब्रियरली, ग्रेग च्यापेल, इयान च्यापेल, बेलिन्डा क्लार्क, एलेस्टर कुक, सुनील गावस्कर, ली जर्मन, एडम गिलक्रिस्ट, डेभिड गावर, किम ह्युजेस, नासिर हुसेन, क्लाइभ लोयड, कपिल देव, अर्जुना रणतुंगा, एन्ड्र्यु स्ट्रस, दिलीप भेङ्सरकर, स्टिभ व र जोन राइट रहेका छन्।

बोलेकै भरमा प्रसाईंलाई थुन्न नमिल्ने सर्वोच्चको ठहर

काठमाडौं। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बोलेकै आधारमा पक्राउ गरेर अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन नमिल्ने ठहर गरेको छ ।

तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले प्रसाईंलाई पक्राउ गरी थुनामा राखेको विषयमा परेको बन्दीप्रत्यक्षीकरण रिटको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले यस्तो व्याख्या गरेको हो ।

तत्कालीन न्यायाधीश तथा हालका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले २०८२ चैत ९ गते गरेको आदेशको पूर्णपाठमा बोल्नु मात्र अपराधको आधार बन्न नसक्ने स्पष्ट गरिएको छ ।

अदालतले अभिव्यक्ति स्वतन्त्रता र वैयक्तिक स्वतन्त्रताको संवैधानिक संरक्षणलाई जोड दिँदै कुनै व्यक्तिले व्यक्त गरेको विचारका आधारमा मात्र उसलाई पक्राउ वा थुनामा राख्ने अवस्था नरहने संकेत गरेको हो ।

सर्वोच्चले यस क्रममा संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतको ‘ब्रान्डेनबर्ग भर्सेस ओहायो’ मुद्दाको दृष्टान्तसमेत अघि सारेको छ । उक्त फैसलाअनुसार अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउन दुईवटा अवस्था एकैपटक देखिनुपर्ने मान्यता छ ।

पहिलो, अभिव्यक्ति आसन्न गैरकानुनी कार्य गराउन वा उक्साउन निर्देशित हुनुपर्छ । दोस्रो, त्यस्तो अभिव्यक्तिबाट तत्काल गैरकानुनी कार्य हुनसक्ने सम्भावना उच्च हुनुपर्छ ।

यही कानुनी आधारलाई प्रसाईंको हकमा जोड्दै सर्वोच्चले त्यस्तो अवस्था देखिएको प्रमाण मिसिलबाट पुष्टि हुन नसकेको निष्कर्ष निकालेको छ ।

‘यी रिट निवेदक प्रसाईंको हकमा त्यस्तो अवस्था देखिई निजको अभिव्यक्तिको स्वतन्त्रतामा प्रतिबन्ध लगाउनुपर्ने सम्मको अवस्था उत्पन्न भएको मिसिलबाट देखिन सकेको छैन,’ पूर्णपाठमा भनिएको छ ।

अर्थात्, प्रसाईंका अभिव्यक्ति विवादास्पद वा असहमतिका विषय हुन सक्लान्, तर त्यसैलाई आधार बनाएर राज्यले उनको व्यक्तिगत स्वतन्त्रता खोस्न भने ठोस कानुनी आधार देखाउनुपर्ने सर्वोच्चको व्याख्या छ ।

यो आदेशले सरकार वा सुरक्षा निकायले अभिव्यक्तिका विषयमा कारबाही गर्दा पूरा गर्नुपर्ने संवैधानिक सीमालाई समेत स्पष्ट पारेको छ ।

अदालतको व्याख्याले अभिव्यक्ति स्वतन्त्रता असीमित हुन्छ भन्ने भनेको छैन । तर प्रतिबन्ध वा पक्राउका लागि केवल अभिव्यक्ति पर्याप्त नहुने र त्यसबाट आसन्न गैरकानुनी गतिविधिको वास्तविक तथा उच्च सम्भावना देखिनुपर्ने आधार स्थापित गरेको छ ।

मन्त्रीज्यू, सुकुम्बासीलाई लालपुर्जा चाहिएको छ

काठमाडौं। सुकुम्बासी समस्या नेपालको राजनीतिमा नयाँ विषय होइन । चुनावका बेला लालपुर्जा बाँड्ने आश्वासन,सरकार बनेपछि आयोग-समिति गठन र सत्ता फेरिएसँगै फेरि त्यही समस्या अर्को सरकारको जिम्मामा छाडिने क्रम दशकौँदेखि चल्दै आएको छ ।

यसपटक भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले यही पुरानो समस्यालाई समयसीमाभित्र टुंग्याउने दाबी गरेकी छन् ।

उनले देशभरका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको समस्या ५०० दिनभित्र चरणबद्ध रूपमा समाधान गर्ने लक्ष्य अघि सारेकी छन् ।

कञ्चनपुरमा स्थानीय भूमिहीनसँग भेट्दै रावलले कानुनअनुसार लालपुर्जा पाउनुपर्ने नागरिकलाई राज्यले स्वामित्व दिलाउने बताइन् । वर्षौँदेखि बसोबास गरेको ठाउँबाट हटाइने, डोजर चल्ने वा विस्थापित हुने त्रासमा नबस्नसमेत उनले आग्रह गरिन् ।

उनको भनाइको सार स्पष्ट छ- लालपुर्जा पाउने आधार भएकालाई कानुनी प्रक्रिया पूरा गरेर स्वामित्व दिने, तर राजनीतिक दबाब वा हचुवाका भरमा जग्गा बाँड्ने होइन ।

सुकुम्बासी बस्तीमा मन्त्री र नेताहरू पुग्दा अबिर, माला र खादा लगाएर स्वागत गर्ने परम्परा पनि पुरानै हो । रावलले भने समस्या समाधान नगरी नेताहरूलाई सम्मान गर्न हतार नगर्न आग्रह गरेकी छन् । ‘पहिला काम, त्यसपछि सम्मान’ भन्ने उनको शैलीले राजनीतिक जवाफदेहिताको फरक सन्देश दिएको छ ।

तर भाषणभन्दा ठूलो परीक्षा अब परिणामको हो ।

सरकारसामु १२ लाखभन्दा बढी निवेदन प्रमाणीकरण र व्यवस्थापन गर्नुपर्ने अवस्था छ । वास्तविक भूमिहीन पहिचान, जग्गाको प्रकृति परीक्षण, नापजाँच, कानुनी प्रमाणीकरण र स्वामित्व हस्तान्तरण आफैँमा जटिल प्रक्रिया हुन् । सार्वजनिक, सरकारी, वन वा नदीकिनारको जग्गासम्बन्धी विषयमा वैकल्पिक व्यवस्थासमेत खोज्नुपर्ने हुन्छ ।

त्यसैले ५०० दिनको घोषणा आफैँमा उपलब्धि होइन । यो सरकारका लागि सुरु भएको काउन्टडाउन हो ।

केही स्थानमा लालपुर्जा वितरण सुरु भइसकेको सरकारी दाबी छ । तर केही परिवारको हातमा लालपुर्जा पुग्नु र लाखौँ निवेदन टुंग्याउनुबीच ठूलो दूरी छ । यही दूरी घटाउनु रावलको सबैभन्दा ठूलो चुनौती हो ।

काठमाडौं उपत्यकाका नदीकिनारबाट हटाइएका तथा होल्डिङ सेन्टरमा रहेका परिवारको व्यवस्थापन अझ संवेदनशील छ । त्यहाँ तत्काल राहतसँगै स्थायी पुनर्वास र स्वामित्वको प्रश्न जोडिएको छ ।

सरकारले प्रतिपरिवार २५ हजार रुपैयाँ तत्काल सहयोग तथा तीन महिनासम्म मासिक १५ हजार रुपैयाँ घरभाडा सहयोगको व्यवस्था रहेको जनाएको छ । तर राहतले समस्या समाधान गर्दैन । तीन महिनापछि ती परिवार कहाँ जाने भन्ने प्रश्न बाँकी नै रहन्छ ।

नेपालमा भूमिहीन समस्या समाधानका नाममा आयोग बन्ने, लगत संकलन हुने र सरकार फेरिएपछि प्रक्रिया फेरि सुरु हुने रोग पुरानो हो । यसपटक पनि त्यही दोहोरियो भने ५०० दिन अर्को राजनीतिक नारा मात्र बन्नेछ ।

तर वास्तविक भूमिहीन पहिचानदेखि लालपुर्जा वितरणसम्मको प्रक्रिया पारदर्शी, कानुनी र निरन्तर बनाउन सकिए परिणाम फरक आउन सक्छ ।

रावल अहिले आफ्नो मन्त्रालयको काम गर्ने शैलीका कारण चर्चामा छिन्। तर अब मूल्यांकन भाषणले होइन, परिणामले हुनेछ ।

५०० दिनपछि कति भूमिहीनको हातमा लालपुर्जा पुग्यो ? कति परिवार स्थायी रूपमा पुनर्स्थापित भए ? कति वर्षदेखि थन्किएका निवेदन टुंगिए ? र मन्त्री फेरिएपछि पनि यो प्रक्रिया निरन्तर चल्यो कि फेरि नयाँ समिति बन्यो ?

यी प्रश्नको उत्तरले रावलको ५०० दिने अभियानको वास्तविक सफलता निर्धारण गर्नेछ।

‘किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसीहाँसी नमस्कार गरेँ’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेता-कार्यकर्तालाई विगतको हिसाबकिताबमा अल्झिनुभन्दा अबको ३५ वर्षका लागि योजना बनाउन निर्देशन दिएका छन् ।

आइतबार पार्टीको ‘नीति, संगठन र नेतृत्व’ विषयक कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले विगतका दल र नेतृत्वलाई गाली गरेर समय खेर नफाल्न आग्रह गरे ।

‘अब बितेका ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथीहरू, अबको ३५ वर्षको योजना ल्याउनुस्,’ उनले भने ।

लामिछानेले विगतमा जे–जति काम भए, त्यसको समीक्षा गर्दै बस्नुभन्दा अब आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए । केही गर्न नसकिए पनि कम्तीमा नराम्रो काम नगर्न सकिने उनको भनाइ थियो ।

‘बितेको ३५ वर्षका लागि उहाँहरूलाई कचकच गर्ने ठाउँमा हामी छैनौँ । जति सके गरे, धन्यवाद,’ उनले भने ।

अब देशलाई आगामी ३५ वर्षमा कहाँ पुर्‍याउने भन्ने जिम्मेवारी रास्वपाको काँधमा आएको लामिछानेले बताए । जनताले रास्वपालाई ठूलो विश्वास गरेको भन्दै त्यो विश्वास कमजोर हुने कुनै गतिविधि नगर्न उनले नेता–कार्यकर्तालाई सचेत गराए ।

लामिछानेले पार्टीका नेता–कार्यकर्तालाई लोकतन्त्रविरोधी गतिविधि र अभिव्यक्तिबाट टाढा रहनसमेत निर्देशन दिए ।

‘हाम्रा अभिव्यक्ति, क्रियाकलापले लोकतन्त्रलाई कमजोर बनाउने काम नगरोस्,’ उनले भने, ‘कहिलेकाहीँ आफ्नै परिवारका सदस्यलाई पनि सम्झाउनुपर्ने रहेछ । यो मेरो असन्तुष्टि होइन, चिन्ता हो ।’

उनले अहिले सरकार मात्र नभई प्रतिपक्षसमेत बलियो रहेको भन्दै पार्टीका गतिविधि जिम्मेवार र संयमित हुनुपर्ने बताए ।

लामिछानेले आफूले विगतमा प्रधानमन्त्री बन्ने अवसर पाए पनि त्यसलाई अस्वीकार गरेको प्रसंग पनि सुनाए ।

२१ सिटको दलको नेतृत्व गरिरहेका बेला आफ्नो हस्ताक्षर मात्र बाँकी राखेर प्रधानमन्त्री बन्ने प्रस्ताव आएको उनले दाबी गरे । तर, तत्काल प्रधानमन्त्री बन्नुभन्दा आन्दोलन, जनताको अपेक्षा र नयाँ पुस्ताको आशालाई प्राथमिकता दिएको उनको भनाइ छ ।

‘म २१ सिटको दलको नेताको रूपमा प्रधानमन्त्री बन्नका निम्ति मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव पनि आएको थियो,’ उनले भने, ‘भइदिउँ न त भन्दा त्यति धेरै गाह्रो पनि थिएन ।’

त्यतिबेला प्रधानमन्त्री बनेको भए केही महिनामात्रै पदमा रहन सक्ने र सिंहदरबारमा आफ्नो एउटा तस्वीर थपिन सक्ने उनले बताए ।

‘म भइ नै हालेको भए दुई–चार महिनाको प्रधानमन्त्री हुन्थेँ होला । धेरै नै भए सिंहदरबारमा एउटा तस्वीरसम्म टाँसिन्थ्यो होला,’ उनले भने ।

तर, देशले नयाँ राजनीतिक परिवर्तन र युवाको नेतृत्व खोजिरहेका बेला आफूले व्यक्तिगत अवसरभन्दा त्यसलाई प्राथमिकता दिएको लामिछानेले बताए ।

‘म यहाँ गर्वका साथ भन्न सक्छु, हाँसीहाँसी किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसीहाँसी नमस्कार गरेको हो,’ उनले भने, ‘मैले यसलाई असाध्यै गर्वको विषय बनाएको होइन, इतिहासको पानामा दर्ज मात्रै गराएको हो ।’

उनले अब विगतमा अरूलाई दोष लगाउनेभन्दा आफूले गर्नुपर्ने काममा ध्यान दिनुपर्ने बताए ।

‘हिजो दोष लगाउने कयौँ नेता थिए । आज कसलाई देखाउने ?’ लामिछानेले प्रश्न गरे ।

‘पाँच महिनामै बालेन सरकार ‘निर्वाचित अधिनायकवाद’तर्फ’

काठमाडौं। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)नेतृत्वको सरकार लोकतान्त्रिक संस्थाहरूलाई कमजोर पार्दै ‘निर्वाचित अधिनायकवाद’तर्फ अघि बढेको आरोप लगाएका छन् ।

आइतबार राजधानीमा आयोजित कार्यक्रममा ज्ञवालीले सरकारको पछिल्लो पाँच महिनाको गतिविधिले यस्तो संकेत देखाएको बताएका हुन् ।

उनका अनुसार सरकार संसद्, राष्ट्रपति संस्था, न्यायालय, राजनीतिक दल र सञ्चारमाध्यमसँग संवाद र सहकार्य गर्नेभन्दा सबैलाई किनारा लगाएर आफूखुसी अघि बढिरहेको छ ।

उनले सरकारको कार्यशैलीलाई ‘बेलगाम घोडा’सँग तुलना गर्दै निर्वाचित सरकार भए पनि त्यसले संस्थागत नियन्त्रण र सन्तुलनलाई बेवास्ता गर्न थालेको टिप्पणी गरे ।

ज्ञवालीले सरकारलाई प्रधानमन्त्री बनाउने आफ्नै राजनीतिक शक्तिसँग समेत पर्याप्त समन्वय नभएको दाबी गरे । संसद्को भूमिकालाई समेत कमजोर बनाउँदै लगिएको उनको आरोप छ ।

उनले ठूलो जनमत पाएको दम्भमा सरकारले आगामी दिनमा संविधानमै प्रतिगामी संशोधन गर्न सक्ने जोखिमसमेत औँल्याए । प्रतिनिधिसभामा संविधान निर्माणका प्रमुख शक्तिहरू कमजोर अवस्थामा रहेकाले सरकारलाई नियन्त्रण र सन्तुलनमा राख्ने राजनीतिक शक्ति पर्याप्त नभएको उनको भनाइ थियो ।

ज्ञवालीले सामाजिक सञ्जालको प्रयोगमार्फत असहमति राख्नेहरूमाथि दबाब सिर्जना भइरहेको दाबी पनि गरे । सरकारको आलोचना गर्नेहरू साइबर बुलिङ, चरित्रहत्या र विभिन्न प्रकारका दबाबको सामना गर्न बाध्य भएको उनको आरोप छ ।

यस्तो अवस्थाले समाजमा डर र मौनता बढाउँदै आलोचनात्मक आवाजलाई कमजोर बनाउने खतरा रहेको ज्ञवालीले बताए । उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा सरकारको आलोचना र असहमतिको अधिकार सुरक्षित हुनुपर्छ ।

ज्ञवालीले अहिलेको अवस्थामा वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूबीच सहकार्य आवश्यक रहेकोमा समेत जोड दिए ।

उनले समाजवादी आन्दोलनको मात्र नभई संविधान, लोकतन्त्र, राष्ट्रियता, खुला राजनीतिक वातावरण, जनजीविका र सामाजिक सद्भावको संरक्षणलाई समेत सहकार्यको आधार बनाउनुपर्ने बताए ।