`

बराम युवालाई जोड्न काठमाडौंमा फुटसल कप

काठमाडौं । बराम जातिका युवालाई एकजुट गराउने उद्देश्यले काठमाडौंमा आयोजित प्रथम बराम फुटसल कप सम्पन्न भएको छ। नेपाल बराम समाजले आयोजना गरेको प्रतियोगितामा २४ टोलीले सहभागिता जनाएका थिए।

बुढानीलकण्ठस्थित देवी स्पोर्ट्स हाउसमा भएको प्रतियोगिताको फाइनलमा थुमी युवा क्लबले गाउँले एकता बराम क्लबलाई ३–२ गोलले पराजित गर्दै उपाधि जितेको हो। उपविजेता गाउँले एकता बराम क्लबमा सीमित भयो।

उपाधिसँगै थुमी युवा क्लबले २० हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरेको छ। दोस्रो भएको गाउँले एकता बराम क्लबले १० हजार रुपैयाँ नगदसहित ट्रफी पाएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि विभिन्न विधामा पुरस्कृत गरिएको थियो। गाउँले एकता बराम क्लबका सन्देश बराम उत्कृष्ट खेलाडी घोषित भए भने थुमी युवा क्लबका सचिन बराम उत्कृष्ट गोलकिपर बने।

त्यस्तै, अन्नपूर्ण युवा क्लबका मनोज बरामले प्रतियोगिताभरि ८ गोल गर्दै सर्वाधिक गोलकर्ताको पुरस्कार पाए।

नेपाल बराम समाजका अध्यक्ष सागर बरामले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छरिएर रहेका बराम युवालाई एक ठाउँमा जोड्नुका साथै आफ्नो जाति, भाषा र संस्कृतिबारे जानकारी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।

बराम जाति नेपाल सरकारद्वारा सूचीकृत आदिवासी जनजातिमध्ये अति सीमान्तकृत समूहमा पर्छ। उपलब्ध तथ्यांकअनुसार बराम समुदायको जनसंख्या करिब ८ हजार रहेको छ भने काठमाडौं उपत्यकामा ६ सय ३७ जना बसोबास गर्छन्।

समाजका संरक्षक प्रेम बरामले बराम समुदायको मौलिक भाषा ‘बालकुरा’ लोपोन्मुख अवस्थामा रहेको बताए।

भाषा र संस्कृति संरक्षणसँग जोडिएका यस्ता सामुदायिक तथा खेलकुद गतिविधिले युवालाई आफ्नो मौलिक पहिचानप्रति सचेत बनाउन सहयोग पुग्ने उनको अपेक्षा छ।

कांग्रेसको बन्द सत्रअघि केन्द्रीय समिति बैठक जारी [तस्वीरहरू]

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्द सत्र सुरु हुनुअघि केन्द्रीय समिति बैठक बसिरहेको छ।

बन्द सत्रमा प्रस्तुत हुने विषय तथा महाधिवेशनका अन्य आवश्यक तयारीबारे छलफल गर्न केन्द्रीय समिति बैठक बसेको हो।

महाधिवेशन उद्घाटन समारोह सम्पन्न भएपछि कांग्रेस नेताहरू केन्द्रीय समिति बैठकमा जुटेका हुन्। बैठकपछि बन्द सत्र सुरु हुने तयारी छ।

कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंमा जारी छ। उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गरेका थिए।

संसदमा खुलामञ्च चाहिन्छ : सभापति थापा (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन मुलुकका हरेक क्षेत्रमा खुला बहस र संवादको थलो आवश्यक रहेको बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार भृकुटीमण्डपस्थित खुलामञ्चमा सम्बोधन गर्दै थापाले खुलामञ्चलाई भौतिक स्थानका रूपमा बुझ्न नहुने बताए। उनका अनुसार यो राजनीतिक स्मृति, बहस र नागरिक संवादको साझा थलो पनि हो।

संसद्मा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको प्रसंग उठाउँदै थापाले संसद् खुला र जीवन्त बहसको थलो बन्नुपर्ने बताए। ‘खुलामञ्च त संसद्मा चाहिएको छ, तर दुर्भाग्य अहिले संसद् खुला छैन, बन्द छ,’ उनले भने।

‘जुन दिनसम्म प्रधानमन्त्री संसद्मा सम्मानपूर्वक उपस्थित हुनुहुन्न, त्यो दिनसम्म संसद् खुला छैन, बन्द नै मानिनेछ,’ थापाले भने।

कांग्रेसको इतिहासमा खुलामञ्चले ठूला राजनीतिक संकल्प पूरा गर्न प्रेरणा दिएको उल्लेख गर्दै उनले १५औँ महाधिवेशनबाट पनि नयाँ संकल्पसहित अघि बढ्नुपर्ने बताए। देश र नागरिकबीच निरन्तर संवादका लागि खुला मञ्चको आवश्यकता रहेको उनको भनाइ थियो।

‘यो मतभेदलाई साझा मञ्चमा राख्ने थलो हो। देश र नागरिकका बीचमा संवादको खुला मञ्च चाहिएको छ,’ उनले भने।

थापाले सामाजिक सञ्जाललाई समेत गालीगलौजको माध्यम नभई तथ्य र तर्कसहितको बहस गर्ने खुला मञ्चका रूपमा विकास गर्नुपर्ने बताए।

पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन नेतृत्वमाथि प्रश्न उठाउने वातावरण आवश्यक रहेको उल्लेख गर्दै उनले प्रश्न गरेकै आधारमा कारबाही गर्ने नभई प्रश्नलाई स्वागत गर्ने संस्कार विकास गर्नुपर्ने बताए।

‘पार्टीभित्र नेतृत्वमाथि प्रश्न गर्दा कारबाही हुने होइन, प्रश्नलाई स्वागत गर्ने खुला मञ्च चाहिएको छ,’ थापाले भने।

‘म पनि कांग्रेस हुन्थेँ’ (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सकारात्मक र कमजोर पक्षमाथि टिप्पणी गर्दै केही अवस्था फरक भएको भए आफू पनि कांग्रेस बन्न सक्ने बताएका छन्।

आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले कांग्रेसभित्र निष्ठा, अवसरको समान वितरण र नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउने विषयमा प्रश्न उठाए।

‘यदि कांग्रेसले पार्टीमा निष्ठालाई पूँजी मान्नेहरूलाई महत्व दिएको भए, भौतिक पूँजी भएकाहरूलाई मात्र महत्व नदिएको भए म पनि कांग्रेस हुन्थेँ होला,’ उनले भने।

उनले अवसरबाट टाढा रहेका तथा पछाडि परेका समुदाय र क्षेत्रलाई प्रतिनिधित्व गराउने नाममा अवसर पाइसकेका व्यक्तिलाई नै प्राथमिकता दिने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए। त्यस्तै, कम उमेरमै नेतृत्वमा पुग्ने प्रेरणा कांग्रेसले दिएको भए आफू पनि कांग्रेस हुन सक्ने उनको भनाइ थियो।

लामिछानेले कांग्रेसले आफ्नै चुनाव चिह्न रुख छाडेर अन्यत्र मतदान गर्न निर्देशन नदिएको भए पनि आफू कांग्रेस हुन सक्ने बताए। यद्यपि, विगतका विषयमा अल्झिनुभन्दा अब देश निर्माणका लागि सबै दल मिलेर अघि बढ्नुपर्ने उनले बताए।

उनले राजनीतिक दलहरूले समानुपातिक र समावेशी प्रतिनिधित्वको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। राष्ट्रियता, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनजीविकाका सवालमा दलहरूबीच मतभेद नरहनुपर्ने उनको भनाइ थियो।

‘जब मुलुकको कुरा हुन्छ, जब संविधानको कुरा हुन्छ, जब संघीय लोकतान्त्रिक गणतन्त्रको कुरा आउँछ, जब जनजीविकाको कुरा आउँछ, त्यतिखेर पार्टी फरक हुँदैन, झण्डा फरक हुँदैन, नारा फरक हुँदैन। एउटै कुरा हुन्छ, मुलुक, मुलुक र मुलुक,’ उनले भने।

यही भावनाका साथ आफू कांग्रेसको महाधिवेशनमा सहभागी भएको लामिछानेले बताए। उनले मधेशको छोरालाई प्रधानमन्त्री बनाएर आएको प्रसंगसमेत उल्लेख गर्दै सबै समुदाय र क्षेत्रलाई समेटेर अघि बढ्नुपर्ने धारणा राखे।

आन्दोलनबाट सरकार ढल्दैन, पाँच वर्षसम्म सरकार चल्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार पाँच वर्षसम्म नढल्ने दाबी गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकार ढल्ने हल्ला नचलाउन आग्रह गरे। ‘यो सरकार पाँच वर्षसम्म ढल्दैन। सरकार ढल्छ भनेर हल्ला चलाउनेहरू बरु बेहोस भएर ढलान् तर सरकार ढल्दैन,’ उनले भने।

लामिछानेले आन्दोलनबाट सरकार परिवर्तन नहुने बताए। चाडपर्वपछि सरकार ढाल्ने उद्देश्यले आन्दोलन हुने चर्चा आफूले सुनेको भन्दै उनले त्यस्तो आन्दोलनबाट सरकार नढल्ने दाबी गरे।

‘सरकार ढाल्ने तागत जनतासँग मात्रै छ। हामीले काम गर्न सकेनौँ भने जनताले हाम्रो सरकार ढालिदिनेछन्,’ उनले भने।

लोकतन्त्र र संविधानको रक्षाका लागि रास्वपा सबै राजनीतिक शक्तिसँग सहकार्य गर्न तयार रहेको पनि लामिछानेले बताए। उनले रास्वपाले प्राप्त गरेको जनमतको अवमूल्यन नगर्न र सरकारप्रति अनावश्यक शंका नगर्न आग्रह गरे।

गगनले देशको नेतृत्व गर्ने बेला आयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति गगन थापाले अब देशको नेतृत्व गर्ने अवस्था आएको बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले विगतमा आफ्नो नेतृत्वको सरकारमा गगन थापा स्वास्थ्य मन्त्री रहेको स्मरण गरे। त्यतिबेलै आफूले गगनले देशको नेतृत्व गर्ने समय आउन सक्ने बताएको उनले उल्लेख गरे।

‘मैले त्यतिबेलै भन्थेँ, तपाईंले यो देशको नेतृत्व गर्ने बेला आउन सक्छ। आज आएको देख्छु, निकै ठूलो जिम्मेवारी उहाँको काँधमा आएको छ,’ प्रचण्डले भने।

उनले कांग्रेस सभापति थापाले पार्टीमा निरन्तरताको क्रम भंग गर्दै नयाँ इतिहासतर्फ डोर्‍याएको भन्दै बधाई दिए।

‘कांग्रेसमा निरन्तरताको क्रम भंग गर्दै कांग्रेसलाई नयाँ इतिहासमा डोहोर्‍याएकोमा गगन थापालाई बधाई,’ उनले भने।

प्रचण्डले कांग्रेसभित्र रूपान्तरणका लागि भूमिका खेल्ने नेता तथा प्रतिनिधिहरूलाई धन्यवादसमेत दिए। नयाँ पुस्ताले पुरानो पुस्तालाई अपमान गर्ने प्रवृत्ति देखाउन नहुने भन्दै उनले गगनलाई सबैलाई समेटेर अघि बढ्न सुझाव दिए।

नयाँ पुस्ताले विगतका पुस्ताको योगदानलाई सम्मान गर्दै सबैलाई साथमा लिएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

संविधान संशोधन संसद्को गणितमा सीमित हुनुहुँदैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधन सत्ता र प्रतिपक्षको चाहना वा संसद्को अंकगणितमा मात्रै सीमित हुन नहुने बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले संविधानले परिकल्पना गरेअनुसार १० वर्षपछि यसको मूल्याङ्कन र आवश्यक सुधारका लागि सरकारलाई सहयोग गर्ने बताए।

‘संविधान संशोधनको विषय संसद्को गणितको विषय मात्रै बन्नुहुँदैन। संविधान संशोधन गरिरहँदा या संविधान लेखन गरिरहँदा त्यो केवल गणितको विषय बन्दैन, त्यो समग्रताको भावना र अपनत्वको विषय बन्नुपर्छ,’ उनले भने।

संविधान संशोधनको पहल गर्दा संसद्मा प्रतिनिधित्व नभएका राजनीतिक दलहरूलाई समेत साथमा लिनुपर्ने शर्माको भनाइ थियो। संविधान सबैको साझा दस्तावेज भएकाले यसको संशोधन पनि व्यापक सहमति र अपनत्वका आधारमा हुनुपर्ने उनले बताए।

शर्माले जेनजी आन्दोलनले उठाएका मुद्दालाई सम्बोधन गर्दै युवाको भावनाको सम्मान गर्ने विषयमा कांग्रेसको साथ रहने बताए। फागुन २१ को निर्वाचनपछि नयाँ सरकार गठन भए पनि जनतामा रहेको आक्रोश र असन्तुष्टि नघटेको उनको भनाइ थियो।

रास्वपा सभापति रवि लामिछानेतर्फ संकेत गर्दै शर्माले नयाँ सरकार बनेपछि पनि जनताको आक्रोशलाई विश्वासमा बदल्न नसकिएको बताए।

‘नयाँ सरकार बन्दा पनि आवेगलाई किन विश्वासमा लिन सकिरहेका छैनौँ ? किन सामाजिक सञ्जालमा एकले अर्कालाई प्रहार गर्ने कुरामा आनन्दित छौँ ? हरेक मान्छे रिसाएको छ। हरेक मान्छे असन्तुष्ट र आक्रोशित छ,’ उनले भने।

सरकार स्वेच्छाचारी बाटोतर्फ जान खोजेको शंकर पोखरेलको आरोप

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार जनता, संसद् र राजनीतिक दलसँग संवाद नगरी स्वेच्छाचारी बाटोतर्फ अघि बढ्न खोजेको आरोप लगाएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार सम्बोधन गर्दै पोखरेलले राष्ट्रिय मुद्दामा राजनीतिक दलहरूबीच संवाद आवश्यक भए पनि सरकारले त्यसतर्फ ध्यान नदिएको बताए।

उनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय मुद्दामा दलहरूलाई एक ठाउँमा ल्याउन पहल गरिरहेको उल्लेख गर्दै सरकार भने राजनीतिक दल, संसद् र नागरिकसँग संवाद गर्न तयार नदेखिएको बताए।

‘सरकार राजनीतिक दलहरूसँग संवाद गर्दैन । सरकार संसद्सँग संवाद गर्दैन । नागरिकसँग संवाद गर्दैन । सरकार चुनौतीको सामना गरेर जाने कुरामा संकल्प गर्न सक्दैन,’ पोखरेलले भने।

सरकारको यस्तो कार्यशैलीले आगामी प्राकृतिक विपद् तथा अन्य संकटको सामना कसरी गर्ने भन्नेमा समेत गम्भीर प्रश्न खडा गरेको उनको भनाइ थियो।

पोखरेलले लोकतन्त्रको भविष्यप्रति समेत चिन्ता व्यक्त गरे। जनताबाट निर्वाचित प्रधानमन्त्रीले आफ्नै संसदीय दल, संसद् र जनताको आवाज नसुन्ने अवस्था आउनु गम्भीर विषय भएको उनले बताए।

‘यस्तो अवस्थामा लोकतन्त्रको भविष्यतर्फ हामी हिँड्दैछौँ कि स्वेच्छाचारी शासनतर्फ हामी हिँड्दैछौँ भन्ने प्रश्न उठिरहेको छ,’ उनले भने, ‘लोकतन्त्रका लागि लडेको नेपाली कांग्रेस लोकतन्त्रको रक्षाका प्रश्नमा कसरी अघि बढ्छ भन्ने महत्वपूर्ण प्रश्न बनेको छ।’

देश अझै सही बाटोमा छैन, नयाँ सहमति आवश्यक : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक नेतृत्व र सत्ता परिवर्तन भए पनि जनताले चाहेजस्तो समाज निर्माण हुन नसकेको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सभालाई काठमाडौंको खुलामञ्चमा सम्बोधन गर्दै उनले राजनीतिक दल र शक्तिमा आएको परिवर्तनले मानिसहरू बदलिए पनि जनताका इच्छा र आकांक्षा पूरा गर्ने काम बाँकी रहेको बताए।

लिङ्देनले देशको राजनीतिक अवस्था झन् अस्थिर बन्दै गएको टिप्पणी गरे। ‘देश अँध्यारो सुरुङतर्फ प्रवेश गरेको छ। राजनीतिक तरलता झन् बढेर गएको छ,’ उनले भने, ‘दलहरूसँग आग्रह छ, अहिले पनि देश ठीक ठाउँमा आएको छैन। लिकभन्दा बाहिर गएको छ।’

उनले विगतमा विरोध गर्नेहरूमाथि गोली प्रहार हुने गरेको र अहिले सामाजिक सञ्जालमार्फत प्रहार हुने गरेको उल्लेख गर्दै समस्या व्यवहार र व्यवस्थामै रहेको बताए।

संविधान निर्माणका बेला राखिएका राम्रा सोचलाई कार्यान्वयनका क्रममा आवश्यकताअनुसार सुधार गर्दै जानुपर्ने उनको भनाइ थियो। विगतमा राजाबाट राजनीतिक दलहरूलाई निषेध गरिएको र दलहरूबाट पनि राजालाई निषेध गर्ने प्रवृत्ति देखिएको भन्दै उनले निषेधको राजनीतिले कसैको हित नगर्ने बताए।

लिङ्देनले २००७, २०४६ र २०६२/६३ सालका राजनीतिक परिवर्तन तथा जेनजी आन्दोलनपछि विकसित परिस्थितिलाई स्वीकार गर्दै नयाँ पुस्तासहितको नवीन राष्ट्रिय समझदारी आवश्यक रहेको बताए। यस्तो सहमतिबाट मात्रै मुलुकलाई सही दिशामा अघि बढाउन सकिने उनको धारणा थियो।

२० वर्षमा नेपाललाई विकसित देश बनाउने योजना बनाऔँ : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी २० वर्षभित्र नेपाललाई विकसित देशको स्तरमा पुर्‍याउने स्पष्ट योजना बनाउन राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देश विकासका लागि साझा लक्ष्य निर्धारण गरेर त्यसको कार्यान्वयनमा दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने बताएका हुन्।

मलेसिया, दक्षिण कोरिया, सिंगापुर र चीनले छोटो अवधिमा हासिल गरेको विकासको उदाहरण दिँदै भट्टराईले नेपालले पनि आगामी दुई दशकमा त्यस्तै प्रगति गर्न सक्ने बताए।

‘हाम्रै जीवनकालमा मलेसिया, कोरिया, सिंगापुर, चीनहरू ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे भने हामी पनि आगामी २० वर्षभित्र त्यहाँ कसरी पुग्ने ?’ उनले प्रश्न गरे।

उनले देश विकासको योजना बनाएर त्यसलाई कार्यान्वयन गर्ने विषयमा राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए। दलहरूले साझा विकास लक्ष्यलाई व्यवहारमा उतार्न सके मात्रै देश अघि बढ्ने उनको भनाइ थियो।

भट्टराईले राजनीतिक स्थिरताका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्ने पनि बताए। विगतका अनुभवबाट पाठ सिक्दै नयाँ पुस्तालाई नेतृत्व र जिम्मेवारी दिनुपर्ने उनको धारणा थियो।

कपाल र जुंगा कालो हुँदैमा देश बन्दैन : रेमशलाल चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक एवं संरक्षक रेमशलाल चौधरीले नयाँ पुस्ताका नेताहरूबाट पनि देश बनाउने स्पष्ट संकेत नदेखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले कपाल फुलेका पुराना नेताले देश बिगारे भन्ने भाष्य बने पनि कालो कपाल र जुंगा भएका नयाँ पुस्ताका नेताहरूले समेत परिवर्तनको भरोसा दिलाउन नसकेको टिप्पणी गरे।

कांग्रेस सभापति गगन थापातर्फ संकेत गर्दै चौधरीले आफूले उनलाई विश्वास गर्ने भए पनि देश बनाउने काममा नयाँ पुस्ताले आफ्नो क्षमता प्रमाणित गर्नुपर्ने बताए।

‘हिजो सबै कपाल फुलेर आफूलाई युवा हुँ भन्ने नेताहरूले देश बिगारे। अहिले कैला जुंगा भएका, पूरै कपाल काला भएकाले पनि देश बनाउने छनक देखाएका छैनन्,’ उनले भने।

चौधरीले अब गगन थापाजस्ता आधा कपाल र दाह्री फुलेका नेताहरूले देश बनाउने आशा आफूले राखेको बताए। उमेर वा बाहिरी रूपभन्दा काम र परिणामले नेतृत्वको क्षमता देखाउनुपर्ने उनको भनाइको आशय थियो।

रास्वपामा दम्भ र अहंकारको छुट छैन : विपीन आचार्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीनकुमार आचार्यले पार्टीका नेता–कार्यकर्तालाई दम्भ र अहंकारबाट टाढा रहन सचेत गराएका छन्। नागरिकको अपेक्षा उच्च रहेकाले पार्टीमा आबद्ध कसैले पनि सानातिना कमजोरी गर्ने छुट नभएको उनको भनाइ छ।

आइतबार रुपन्देहीको सियारीमा आयोजित पार्टी कार्यक्रममा बोल्दै आचार्यले सञ्चारमाध्यम र आम नागरिकले पार्टीका नेता–कार्यकर्ताका गतिविधि नजिकबाट नियालिरहेको बताए। कमजोरी सार्वजनिक हुनु सुधारको अवसर भएकाले त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने उनले उल्लेख गरे।

‘हामीसँग नागरिकको धेरै अपेक्षा रहेको छ। साना–साना कमजोरी पनि हामीलाई गर्ने छुट छैन। मिडियादेखि सबैले हाम्रा कमजोरी हेरिरहेको अवस्था छ,’ उनले भने, ‘रास्वपामा जोडिएका नेता, कार्यकर्ता मात्र होइन, शुभेच्छुकहरूले पनि यसमा विशेष ध्यान पुर्‍याउनुपर्नेछ।’

आचार्यले पार्टी र सरकारको कामलाई प्रभावकारी बनाउन सबैको साथ आवश्यक रहेको बताए। सरकारले गरेका सकारात्मक काम जनस्तरसम्म पुर्‍याउन र नागरिकका अपेक्षा पार्टी तथा सरकारसमक्ष राख्न स्थानीय कमिटीहरू थप संवेदनशील हुनुपर्ने उनको भनाइ थियो।

कांग्रेस महाधिवेशन : खुलामञ्चबाहिर कार्यकर्ताको छुट्टै रमाइलो [तस्वीरहरू]

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका लागि आइतबार खुलामञ्चमा नेताहरूको बाक्लो जमघट थियो। औपचारिक भाषण सुरु हुनुअघि नै मञ्चमा माल्यार्पणको चहलपहल चल्यो।

सभापति गगन थापाले कांग्रेसका संस्थापक तथा अग्रज नेताहरूको तस्बिरमा माल्यार्पण गर्दै महाधिवेशन उद्घाटन गरे। त्यसपछि दीप प्रज्वलन र बिरुवामा जल सेचन गरे।

उद्घाटन समारोहमा सहभागी विभिन्न दलका नेताहरूले पनि कांग्रेसका अग्रज नेताहरूको तस्बिरमा माल्यार्पण गरे। फरक दलका नेता एउटै ठाउँमा उभिएर श्रद्धा व्यक्त गरेको दृश्य खुलामञ्चको आकर्षण बन्यो।

यता खुलामञ्चमा नेता, प्रतिनिधि र अतिथिको आउजाउसँगै भेटघाट र कुराकानी पनि बाक्लिएको थियो।

भाषण सुरु हुनुअघि नै महाधिवेशनस्थल राजनीतिक भेटघाटको केन्द्र बनेको थियो।

 

किभमा भीषण प्रहारको चेतावनी, विदेशीलाई सहर छाड्न रुसको उर्दी

काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा थप भीषण सैन्य प्रहार गर्ने चेतावनी दिँदै विदेशी कूटनीतिज्ञ तथा नागरिकलाई तत्काल सहर छाड्न भनेको छ ।

रुसी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसअघि दिइएका चेतावनीलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाएको छ । आफ्नो चेतावनी नसुनी किभमै बस्नेहरूले जानीजानी ज्यान जोखिममा पारेको रुसी दाबी छ ।

रुसले चेतावनी बेवास्ता गर्नेहरूमाथि आइपर्ने जुनसुकै नकारात्मक परिणामको जिम्मेवारी उनीहरू स्वयंले लिनुपर्ने पनि स्पष्ट पारेको छ ।

मस्कोले यसअघि मे महिनामा पनि यस्तै चेतावनी दिएको थियो । तर युक्रेनका सहयोगी मुलुकका प्रमुखहरूले रुसी चेतावनीलाई बेवास्ता गर्दै किभ पुगेर युक्रेनप्रति ऐक्यबद्धता जनाएका थिए ।

पछिल्ला महिनामा किभमाथि रुसी हवाई आक्रमण तीव्र बनेको छ । किभका मेयर भिताली क्लित्स्कोले सहरको अवस्था अत्यन्तै गम्भीर बनेको बताएका छन् । उनका अनुसार रुसी सेनाले पुल तथा ऊर्जा पूर्वाधारलाई निशाना बनाइरहेको छ ।

यता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि नागरिक क्षेत्रमा भीषण आक्रमणको अनुमति दिएर युद्धका नियम उल्लङ्घन गरेको आरोप लगाएका छन् । क्रेमलिनले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

लगातारको हवाई आक्रमण र साइरनका कारण करिब ३० लाख जनसंख्या रहेको किभको जनजीवन अस्तव्यस्त बनेको छ । दिनभरजसो बज्ने साइरनसँगै नागरिकहरू सुरक्षित आश्रयस्थलतर्फ दौडिनुपर्ने अवस्था छ । सडकमा सवारीसाधनको लामो जाम लाग्दा कतिपय यात्रु पैदल हिँड्न बाध्य छन् ।

युक्रेनका पूर्वी, उत्तरी र मध्य क्षेत्रमासमेत रुसी आक्रमणका कारण विद्युत् आपूर्ति प्रभावित भएको छ । जाडो बढ्दै जाँदा ऊर्जा माग चुलिएको समयमा विद्युत् ग्रिड सञ्चालक उक्रेनर्गोले उपभोक्तालाई विद्युत् खपत घटाउन आग्रह गरेको छ ।

गत वर्षको जाडोमा तापक्रम माइनस २० डिग्री सेल्सियससम्म झर्दा कतिपय क्षेत्रमा दिनौंसम्म बिजुली र तातोपानी आपूर्ति ठप्प भएको थियो । यसपटक पनि युक्रेन कठिन हिउँदको सामना गर्ने तयारीमा छ ।

सन् २०२२ को फेब्रुअरीमा रुसले पूर्ण रूपमा आक्रमण सुरु गरेयता जारी युद्ध दोस्रो विश्वयुद्धपछि युरोपकै सबैभन्दा रक्तपातपूर्ण द्वन्द्वमध्ये एक बनेको छ ।

यसबीच, युद्धको अग्रभागमा युक्रेनले रुसी सेनाको दबाब रोकिराखेको देखिए पनि हवाई रक्षा प्रणालीको मौज्दात घट्दै जाँदा उसका प्रमुख सहरहरू रुसी आक्रमणको जोखिममा परेका छन् ।

शान्ति प्रयाससमेत यहीबीच अल्झिएको छ । रुसी सेनाले पूर्ण नियन्त्रणमा लिन नसकेका पूर्वी युक्रेनका भूभागसमेत युक्रेनले छाड्नुपर्ने मस्कोको अडान छ । यही विषयमा सहमति जुट्न नसक्दा अमेरिकाको मध्यस्थतामा अघि बढाइएका शान्ति प्रयासहरू समेत ठप्पजस्तै बनेका छन् ।

कांग्रेसको महाधिवेशन आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छ : उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५औँ महाधिवेशनलाई केवल नेतृत्व चयन वा पद व्यवस्थापनको प्रक्रियामा सीमित गर्न नहुने बताएकी छन्। उनले महाधिवेशनलाई पार्टीको आत्मसुधार, पुनर्जागरण र नीतिगत पुनर्संरचनाको अवसर बनाउनुपर्नेमा जोड दिएकी हुन्।

आइतबार काठमाडौंको खुलामञ्चमा सुरु भएको महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भुसालले जनताबीच कमजोर हुँदै गएको विश्वास पुनःस्थापित गर्न कांग्रेसले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताइन्। नयाँ पुस्ताका अपेक्षा र सवाललाई सम्बोधन गर्ने गरी पार्टीको आगामी दिशा तय गर्नुपर्ने उनको भनाइ थियो।

लोकतन्त्रका लागि लामो समयदेखि संघर्ष गर्दै आएको कांग्रेसले अब आफ्नो वर्तमान अवस्था र भविष्यको बाटो स्पष्ट पार्नुपर्ने जिम्मेवारी महाधिवेशनले लिनुपर्ने उनले बताइन्।

भुसालले महाधिवेशनलाई पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउने अवसरका रूपमा उपयोग गर्न प्रतिनिधिहरूलाई आग्रह गरिन्। केन्द्रबाट हुने निर्णय प्रक्रियालाई थप पारदर्शी बनाउँदै त्यसको प्रभाव र जानकारी तल्लो तहसम्म पुर्‍याउनुपर्ने उनको भनाइ छ।

देशको जनसंख्यामा ठूलो हिस्सा रहेको नयाँ पुस्ताले सुशासन, रोजगारी र भ्रष्टाचारमुक्त समाजको अपेक्षा गरिरहेको उल्लेख गर्दै भुसालले कांग्रेसले उनीहरूको आकांक्षा र भरोसालाई सम्बोधन गर्नुपर्ने बताइन्।

उनले कांग्रेसका नेता तथा कार्यकर्तामात्र नभई लोकतान्त्रिक विचारमा विश्वास गर्ने सबैलाई महाधिवेशनलाई आत्मसमीक्षा गर्ने अवसरका रूपमा लिन आग्रह गरिन्। पार्टीको कमजोरी पहिचान गरेर सुधार, पुनर्निर्माण र पुनर्जागरणको बाटोमा अघि बढ्नुपर्ने उनको भनाइ थियो।

महाधिवेशनपछि जनताबीच पुग्दा कांग्रेसले विगतभन्दा बढी ऊर्जा र प्रतिबद्धताका साथ काम गर्न सक्ने अवस्था बनाउनुपर्ने बताउँदै भुसालले पार्टीले फेरि जनताको विश्वास जित्ने आधार तयार गर्नुपर्ने उल्लेख गरिन्।

महिलाको सहभागिताबारे बोल्दै उनले मुलुकको जनसंख्यामा महिलाको हिस्सा आधाभन्दा बढी रहेको स्मरण गराइन्। आन्दोलन, निर्वाचन र सामाजिक क्षेत्रमा महिलाले आफ्नो क्षमता प्रमाणित गरिसकेको भन्दै अब पार्टी तथा राज्यको नीति निर्माण तहमा महिलाको निर्णायक सहभागिता सुनिश्चित गर्नुपर्ने माग उनले राखिन्।

भुसालले कांग्रेसको १५औँ महाधिवेशनलाई नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक र सांगठनिक यात्राको दिशा तय गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएकी छन्।

खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशनको रौनक [तस्वीर]

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन औपचारिक रूपमा उद्घाटन गरेका छन्।

काठमाडौंको खुलामञ्चमा आयोजित समारोहमा थापाले कांग्रेसका संस्थापक तथा अग्रज नेताहरूको तस्बिरमा माल्यार्पण गर्दै महाधिवेशनको सुरुवात गरेका हुन्। उनले दीप प्रज्वलन गर्नुका साथै बिरुवामा जल सेचनसमेत गरे।

उद्घाटन समारोहमा कांग्रेसका अग्रज नेताहरूको तस्बिरमा विभिन्न राजनीतिक दलका नेताहरूले पनि माल्यार्पण गरेका थिए।

समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ।

गगनको २९ बुँदे राजनीतिक प्रतिवेदनमा के छ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन तयार पारेका छन्। आगामी चार वर्षमा पार्टीले लिनुपर्ने राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक बाटोबारे विस्तृत प्रस्तावसहित प्रतिवेदन तयार गरिएको हो।

प्रतिवेदनमा कांग्रेसले विगतका कमजोरीको समीक्षा गर्दै पार्टीलाई नयाँ ढंगले अघि बढाउनेदेखि निर्वाचनपूर्व गठबन्धन नगर्ने नीतिसम्म प्रस्ताव गरिएको छ। निजी क्षेत्रसँग सहकार्य, युवाको सहभागिता, सुशासन, आर्थिक उत्पादन, प्रविधि, संघीयता र राष्ट्रिय स्वाधीनतालाई पनि आगामी कार्यदिशाका महत्वपूर्ण विषय बनाइएको छ।

थापाले कांग्रेस पछिल्ला दुई दशकमा राजनीतिक उद्देश्यभन्दा पद र सत्तातर्फ बढी केन्द्रित भएको स्वीकार गरेका छन्। गठबन्धन, भागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक आधार कमजोर बनाएको प्रतिवेदनमा उल्लेख छ। भ्रष्टाचार र अनियमिततामा आफ्नै पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्ततामाथि समेत प्रश्न उठेको निष्कर्ष निकालिएको छ।

युवापुस्तासँग पार्टीको दूरी बढ्नु र नागरिकका बदलिँदा अपेक्षा बुझ्न नसक्नु कांग्रेसको अर्को कमजोरीका रूपमा औंल्याइएको छ। दोस्रो विशेष महाधिवेशनमार्फत जनतासँग क्षमायाचना गर्दै पार्टी सुधारको प्रतिबद्धता जनाइएको विषयलाई पनि प्रतिवेदनमा स्मरण गरिएको छ।

भदौ २३ र २४ को जनउभारलाई केवल षड्यन्त्रका रूपमा व्याख्या गरेर पन्छिन नहुने थापाको निष्कर्ष छ। सुशासन, अवसर र निष्पक्षताको माग नागरिकको जायज असन्तुष्टि भएको भन्दै आन्दोलनका क्रममा भएको राज्यको बल प्रयोग, हिंसा तथा जनधनको क्षतिबारे निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गरिएको छ। दोषीलाई कारबाही र पीडितलाई सत्य, न्याय तथा परिपूरण दिलाउनुपर्ने प्रस्ताव गरिएको छ।

फागुन २१ को निर्वाचनमा कांग्रेसले भोगेको पराजयलाई पनि लामो समयदेखि नागरिकसँग बढ्दै गएको दूरी र पार्टीको राजनीतिक कमजोरीसँग जोडेर समीक्षा गरिएको छ। प्राप्त जनादेश स्वीकार गर्दै संसद्मा जिम्मेवार प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता प्रतिवेदनमा व्यक्त गरिएको छ।

३८ सिटसहित संसद्मा रहेको कांग्रेसले सरकारका कामकारबाहीमाथि प्रभावकारी निगरानी गर्नुपर्ने प्रस्ताव गरिएको छ। सरकारलाई तथ्य र प्रमाणका आधारमा प्रश्न गर्ने, भ्रष्टाचार तथा अधिकार हननविरुद्ध आवाज उठाउने र आलोचनासँगै वैकल्पिक नीति प्रस्तुत गर्ने कार्यदिशा अघि सारिएको छ। संघ र प्रदेशमा मन्त्रालयगत कामको निगरानी गर्न ‘छायाँ सरकार’को अभ्यास गर्ने प्रस्तावसमेत छ।

आगामी निर्वाचनमा कुनै पनि दलसँग निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति थापाले अघि सारेका छन्। आफ्नै चुनाव चिह्न, आफ्नै उम्मेदवार र आफ्नै राजनीतिक एजेन्डासहित जनतामाझ जाने प्रस्ताव गरिएको छ। उम्मेदवार छनोटमा गुट र पहुँचभन्दा योग्यता, योगदान तथा कार्यसम्पादनलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ।

उम्मेदवार चयनमा प्राइमरी निर्वाचन, सार्वजनिक मतसर्वेक्षण र पार्टी सदस्यको प्रत्यक्ष मतलाई महत्व दिने प्रस्ताव छ। अधिवेशन वा उम्मेदवारीलाई प्रभावित पार्ने गरी अन्तिम समयमा सदस्यतासम्बन्धी नियम परिवर्तन नगर्ने प्रतिबद्धता पनि प्रतिवेदनमा समेटिएको छ।

कांग्रेसले राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई आफ्नो मूल वैचारिक आधारका रूपमा निरन्तरता दिँदै बदलिँदो समयअनुसार विचारको नवीकरण गर्नुपर्ने प्रस्ताव गरिएको छ। राष्ट्रियतालाई भूगोल र नारामा सीमित नराखी ऊर्जा, खाद्य, प्रविधि तथा वित्तीय क्षमतासँग जोड्नुपर्ने र लोकतन्त्रलाई निर्वाचनमा मतदान गर्ने प्रक्रियाभन्दा व्यापक नागरिक सहभागितासँग जोड्नुपर्ने भनिएको छ।

बीपी कोइरालाको समाजवादी दृष्टिकोणलाई आधुनिक सामाजिक बजार अर्थतन्त्रसँग जोड्ने तथा प्रदीप गिरिको अध्ययन, बहस, आत्मालोचना र बहिष्कृत समुदायका मुद्दालाई कांग्रेसको वैचारिक यात्रासँग जोड्ने प्रस्ताव पनि प्रतिवेदनमा छ।

‘समुन्नत नेपाल, सम्मानित नेपाली’लाई पार्टीको दीर्घकालीन अवधारणाका रूपमा अघि सार्दै आर्थिक वृद्धिदरलाई मात्र विकासको आधार नमान्ने प्रस्ताव गरिएको छ। शिक्षा, स्वास्थ्य, पोषण, सीप, क्षमता र नागरिकको वास्तविक स्वतन्त्रतालाई समुन्नतिको मापदण्ड बनाउने भनिएको छ।

विकासमा सरकारमात्र होइन, नागरिक, समुदाय, निजी क्षेत्र, सहकारी, विश्वविद्यालय र विज्ञको साझेदारी आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ। सार्वजनिक निर्णयमा परिणाम र जिम्मेवारी स्पष्ट पार्नुपर्नेमा पनि जोड दिइएको छ।

सरकारी काममा जवाफदेहिता बढाउन हरेक महत्वपूर्ण निर्णयबारे पाँच प्रश्नको उत्तर खोज्ने प्रणाली लागू गर्नुपर्ने प्रस्ताव छ। के निर्णय भयो, किन भयो, जिम्मेवारी कसको हो, परिणाम के आयो र अपेक्षित परिणाम नआए सुधार के गरियो भन्ने प्रश्नलाई सार्वजनिक जवाफदेहिताको आधार बनाउने भनिएको छ।

विकास आयोजना, बजेट खर्च र जिम्मेवार पदाधिकारीको विवरण नागरिकले प्रत्यक्ष हेर्न सक्ने डिजिटल ड्यासबोर्ड निर्माण गर्ने प्रस्ताव पनि गरिएको छ। यसबाट सरकारी आयोजनाको प्रगति र खर्चबारे नागरिक निगरानी बढाउने उद्देश्य राखिएको छ।

निजी क्षेत्रलाई कर संकलनको स्रोतमा मात्र सीमित नगरी उत्पादन, रोजगारी, सम्पत्ति निर्माण र नवप्रवर्तनको प्रमुख साझेदारका रूपमा विकास गर्नुपर्ने प्रस्ताव छ। लगानीको सुरक्षा, नीतिगत स्थिरता र व्यवसायमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ।

कृषि, उद्योग, पर्यटन, जलस्रोत, ऊर्जा र डिजिटल प्रविधिलाई आर्थिक विकासको आधार बनाउने तथा विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना गर्ने प्रस्ताव छ। आयात र विप्रेषणमा निर्भर अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने लक्ष्य प्रतिवेदनमा राखिएको छ।

असमानता बढेपछि मात्र कर र अनुदानमार्फत समाधान खोज्नेभन्दा शिक्षा, स्वास्थ्य, सीप, वित्त र रोजगारीमा सुरुदेखि नै समान अवसर उपलब्ध गराउनुपर्ने अवधारणा अघि सारिएको छ।

देशभित्र सम्मानजनक रोजगारी सिर्जना गर्ने र वैदेशिक रोजगारीलाई सुरक्षित तथा अधिकारमुखी बनाउने प्रस्ताव गरिएको छ। विदेशमा रहेका नेपालीका अधिकार र सामाजिक सुरक्षालाई नीतिमा समेट्दै विप्रेषणलाई उत्पादन र रोजगारी सिर्जनामा परिचालन गर्ने भनिएको छ।

बसाइँसराइका कारण पहाडमा घट्दो जनसंख्या, मधेस तथा राजमार्ग क्षेत्रमा बढ्दो जनघनत्व र शहरमा थपिँदो चापलाई फरक ढंगले सम्बोधन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। नागरिकको वास्तविक बसोबास र सेवाको मागका आधारमा विकास योजना बनाउनुपर्ने प्रस्ताव छ।

जलवायु परिवर्तनलाई वातावरणीय समस्यामात्र नभई आर्थिक तथा राष्ट्रिय सुरक्षाको विषयका रूपमा लिनुपर्ने उल्लेख छ। विपद् जोखिमलाई पूर्वाधार तथा बस्ती विकाससँग जोड्ने, प्राकृतिक स्रोतको दिगो उपयोग गर्ने र भावी पुस्ताको अधिकार सुरक्षित राख्ने नीति अघि सारिएको छ।

कृत्रिम बुद्धिमत्ता र डिजिटल प्रविधिका कारण रोजगारी, शिक्षा र प्रतिस्पर्धाको स्वरूप परिवर्तन भइरहेकाले नेपालले त्यसअनुसार शिक्षा तथा सीप प्रणाली तयार गर्नुपर्ने प्रस्ताव गरिएको छ। गलत सूचना र घृणात्मक सामग्री नियन्त्रणका लागि मिडिया साक्षरता र तथ्यमा आधारित संवादलाई प्रोत्साहन गर्ने भनिएको छ।

जातीय विभेद, बालविवाह, लैंगिक हिंसा, कुपोषण, शिक्षा र स्वास्थ्यजस्ता विषयलाई निरन्तर सामाजिक अभियानसँग जोड्ने प्रस्ताव पनि छ। सार्वजनिक शिक्षा र स्वास्थ्यलाई समान अवसरको आधार बनाउँदै महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा कमजोर समुदायको सामाजिक सुरक्षा बलियो बनाउनुपर्ने उल्लेख गरिएको छ।

संघीयताको संरचना बने पनि त्यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको प्रतिवेदनमा स्वीकार गरिएको छ। संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, प्रशासनिक क्षमता र वित्तीय संघीयता सुधार गर्नुपर्ने प्रस्ताव छ। संविधान संशोधनको बहसलाई तत्कालीन राजनीतिक समीकरणभन्दा राष्ट्रिय सहमतिका आधारमा अघि बढाउनुपर्नेमा जोड दिइएको छ।

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै द्वन्द्वपीडितलाई सत्य, न्याय र परिपूरण सुनिश्चित गर्नुपर्ने प्रस्ताव छ। संक्रमणकालीन न्यायलाई राजनीतिक भागबन्डा वा सत्ता समीकरणको विषय नबनाउनुपर्ने उल्लेख गरिएको छ।

राष्ट्रिय स्वाधीनतालाई औपचारिक सार्वभौमिकतामा मात्र सीमित नराखी ऊर्जा, खाद्य, वित्त, प्रविधि र ज्ञानमा आत्मनिर्भर क्षमता विकास गर्नुपर्ने प्रस्ताव गरिएको छ। बदलिँदो भूराजनीतिक परिस्थितिमा नेपालको स्वतन्त्र निर्णय क्षमता कायम राख्दै राष्ट्रिय हितमा आधारित विदेश नीति अघि बढाउने भनिएको छ।

कांग्रेसलाई निर्वाचनका बेला मात्र सक्रिय हुने संगठन नभई नागरिकसँग निरन्तर जोडिने राजनीतिक संस्था बनाउने प्रस्ताव गरिएको छ। सदस्यता, सहभागिता र आन्तरिक लोकतन्त्रलाई पारदर्शी बनाउँदै पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा जोड्ने लक्ष्य राखिएको छ।

नेतृत्व विकासका लागि तालिम संस्था, नीति अनुसन्धान केन्द्र, निर्वाचन तयारीका लागि छुट्टै ब्युरो र जनप्रतिनिधिलाई नीति तथा सुशासनमा सहयोग गर्ने संस्थागत संरचना बनाउने प्रस्ताव पनि छ।

पार्टी पदाधिकारी तथा जनप्रतिनिधिका लागि उच्च नैतिक मापदण्ड लागू गर्ने र वित्तीय पारदर्शिता बढाउने प्रस्ताव गरिएको छ। भ्रष्टाचारको आरोप लागेका आफ्नै पक्षका व्यक्तिलाई समेत संरक्षण नगर्ने, आवश्यक छानबिन र निलम्बनको प्रक्रिया अघि बढाउने तथा पार्टीभित्र आचरणसम्बन्धी छानबिनका लागि स्वतन्त्र संयन्त्र बनाउने भनिएको छ।

न्यायपालिका, संवैधानिक निकाय, विश्वविद्यालय र प्रशासनमा दलीय भागबन्डा नगर्ने प्रतिबद्धता जनाउनुपर्ने प्रस्ताव पनि प्रतिवेदनमा छ। सार्वजनिक सम्पत्ति र अधिकारलाई दल वा गुटको हितमा प्रयोग नगर्ने तथा पैसा, पहुँच र नेतासँगको निकटताका आधारमा अवसर नदिने नीति अघि सारिएको छ।

कुनै व्यक्ति दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाका लागि पहल गर्ने प्रस्तावसमेत प्रतिवेदनमा छ। यसले नेतृत्वमा लामो समयसम्म एउटै व्यक्तिको प्रभाव कायम रहने अवस्था अन्त्य गर्ने लक्ष्य राखेको छ।

निर्वाचन प्रणालीमा सुधार गर्दै उम्मेदवार छनोटमा प्राइमरी प्रणाली लागू गर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउन पहल गर्ने तथा निर्वाचनलाई थप सहभागी र प्रतिनिधिमूलक बनाउने विकल्पमा बहस अघि बढाउने प्रस्ताव गरिएको छ।

शहीद परिवार, घाइते तथा विस्थापित कार्यकर्ताको शिक्षा र स्वास्थ्यमा सहयोग पुर्‍याउन १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने प्रस्ताव छ। राजनीतिक आन्दोलनमा योगदान गरेका परिवारको दीर्घकालीन संरक्षणका लागि पनि छुट्टै व्यवस्था गर्ने भनिएको छ।

जेन्–जी पुस्ताको असन्तुष्टि र मागबारे अध्ययन गर्न युवा विज्ञ सम्मिलित विशेष कार्यदल बनाउने प्रस्ताव गरिएको छ। युवालाई पार्टीको नीति निर्माण, निर्णय प्रक्रिया र नेतृत्व विकासमा थप सहभागी गराउने तथा डिजिटल माध्यमको प्रयोग बढाउने लक्ष्य राखिएको छ।

‘समुन्नति’ अवधारणालाई व्यवहारमा उतार्न पहिलो १०० दिनमै राजनीतिक तथा संगठनात्मक समीक्षा सुरु गर्ने प्रस्ताव छ। सातै प्रदेशमा समीक्षा, नीति दस्तावेज निर्माण र नागरिक संवाद अघि बढाउने योजना प्रतिवेदनमा समेटिएको छ।

पहिलो वर्ष शिक्षा, पोषण, रोजगारी, सुशासन र हरित विकासमा केन्द्रित प्रदेशस्तरीय कार्यदल गठन गर्ने प्रस्ताव छ। उम्मेदवार छनोटका मापदण्ड निर्वाचनअघि नै सार्वजनिक गर्ने, सामुदायिक योगदान, नैतिक आचरण र कार्यसम्पादनलाई उम्मेदवारीको आधार बनाउने भनिएको छ।

पार्टीका नीति र कार्यक्रमको हरेक तीन महिनामा समीक्षा गर्ने तथा हरेक वर्ष सार्वजनिक प्रगति प्रतिवेदन निकाल्ने प्रस्ताव पनि छ। चार वर्षपछि नेतृत्वको मूल्याङ्कनसमेत नीति तथा प्रतिबद्धताको कार्यान्वयनका आधारमा गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

समग्रमा थापाको राजनीतिक प्रतिवेदनले कांग्रेसको सुधारलाई नेतृत्व परिवर्तनमा मात्र सीमित गरेको छैन। पार्टीको राजनीतिक संस्कारदेखि आर्थिक नीति, सुशासन, निजी क्षेत्र, रोजगारी, सामाजिक सुरक्षा, युवा सहभागिता, प्रविधि, जलवायु र राष्ट्रिय स्वाधीनतासम्मका विषयलाई एउटै कार्यदिशामा जोडिएको छ।

‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’लाई केन्द्रमा राखेर तयार पारिएको प्रतिवेदनले विगतका कमजोरी स्वीकार गर्दै नागरिकसँगको दूरी घटाउने, लोकतान्त्रिक संस्था बलियो बनाउने र पार्टीका प्रतिबद्धतालाई परिणाममा बदल्ने लक्ष्य अघि सारेको छ।

कांग्रेस महाधिवेशन : को-को पुगे खुलामञ्च?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा सुरु भएको छ। उद्घाटन समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू खुलामञ्च पुगेका छन्।

उद्घाटन सत्रमा नेकपा एमालेका महासचिव शङ्कर पोखरेल सहभागी भएका छन्। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि कार्यक्रममा पुगेका छन्।

उद्घाटन समारोहमा पूर्वमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी र पूर्वअर्थमन्त्री रामेश्वर खनालको पनि उपस्थिति रहेको छ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठसहित विभिन्न क्षेत्रका प्रतिनिधि तथा अतिथिहरू पनि खुलामञ्च पुगेका छन्।

जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत निर्वाचित

काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित भएका छन्। वीरगञ्जमा सम्पन्न पार्टीको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा राउतले ९५८ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परेको थियो। तर पार्टी विधानअनुसार उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था रहेकाले उनको पक्षमा पनि मतदान भएको थियो।

महाधिवेशनमा २६ पदाधिकारीसहित ९९ पदका लागि निर्वाचन भएको थियो।

उपाध्यक्षमा अनिताकुमारी मण्डल, अनितादेवी साह, नरेन्द्रप्रसाद चौधरी, बसन्तकुमार कुशवाहा, डा. जयकान्त राउत, राजयकुमार यादव र माधवप्रसाद सिंह निर्वाचित भएका छन्। उपाध्यक्षका लागि ११ जना प्रतिस्पर्धामा थिए। परमेश्वर मुर्मु, हरपाल सिंह सोडी, मनोहरा देवी बैठा र रोशन खातुन भने पराजित भए।

महासचिव पदमा सञ्जयकुमार यादव ६१८ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी ममता झाले २२० र चन्दनकुमार सिंहले १६५ मत पाए। दुवैले २० प्रतिशतको थ्रेसहोल्ड कटाउन नसकेको जनमत पार्टीले जनाएको छ।

उपमहासचिवमा निर्मलकुमार मण्डल ५०१ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी ललितचन्द्र मल्लिकले ४१४ मत पाए।

त्यस्तै, सचिवमा सुरेन्द्र शर्मा, पारसप्रसाद साह, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन्।

सात सचिव पदका लागि नौ जना प्रतिस्पर्धामा थिए। वीरेन्द्र महतो (जीवन त्यागी) र रामबाबु साह भने पराजित भएका छन्।

कांग्रेस महाधिवेशनमा सहभागी हुन पुगे एमाले महासचिव पोखरेल

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल काठमाडौंको खुलामञ्च पुगेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुन नसकेपछि उनको प्रतिनिधिका रूपमा पोखरेल कांग्रेस महाधिवेशनमा पुगेका हुन्।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह अहिले खुलामञ्चमा चलिरहेको छ। समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू खुलामञ्च पुगेका छन्।

पोखरेलले एमालेका तर्फबाट कांग्रेस महाधिवेशनलाई शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ।

एमाले संसदीय दलको बैठक च्यासलमा जारी

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, हालै सम्पन्न संसद् अधिवेशन र आगामी दिनमा पार्टीले लिनुपर्ने राजनीतिक रणनीतिलगायतका विषयमा छलफल भइरहेको छ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन्। उनले पार्टीका सांसदहरूलाई समसामयिक राजनीतिक विषयमा आवश्यक निर्देशन दिने बताइएको छ।

संसद् अधिवेशन अन्त्य भएसँगै विकसित राजनीतिक परिस्थितिबारे सांसदहरूबीच छलफल गर्न बैठक बोलाइएको एमालेले जनाएको छ।

देउवालाई ल्याउन कांग्रेस महाधिवेशनको उद्घाटन नै ढिलो!

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन कार्यक्रम तोकिएको समयभन्दा पछि धकेलिँदै जानुको एउटा कारण असन्तुष्ट नेताहरूलाई समेत समेट्ने प्रयास रहेको कांग्रेस नेता मीनबहादुर विश्वकर्माले बताएका छन्।

महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विश्वकर्माले कांग्रेसभन्दा बाहिर रहेका तथा मन नमिलेका नेताहरूलाई पनि मूलधारमा ल्याउन अन्तिम समयसम्म प्रयास भइरहेको बताए। त्यसकै लागि महाधिवेशनको कार्यतालिकासमेत आवश्यकताअनुसार लचिलो बनाइएको उनको भनाइ छ।

उनका अनुसार पार्टीभित्रको असहमति मिलाउने र सबै पक्षलाई महाधिवेशनमा सहभागी गराउने प्रयास अझै जारी छ।

विश्वकर्माले पूर्वसभापति शेरबहादुर देउवा महाधिवेशनस्थलमा आइपुगेर सम्बोधन गर्ने आशासमेत व्यक्त गरे। देउवाको सहभागिता निश्चित नभए पनि कांग्रेसको ऐतिहासिक परम्परा र नेतृत्व हस्तान्तरणलाई सम्मानजनक ढंगले अघि बढाउन उनी महाधिवेशनमा आउनुपर्ने उनको भनाइ थियो।

‘उहाँ यहाँ आएर उपस्थिति जनाएर, सम्बोधन गरेर आफ्नो सुखद बहिर्गमन र नेपाली कांग्रेसको ऐतिहासिक धरोहरको निरन्तरता कायम गर्नुहुन्छ भन्ने हामी विश्वास गर्दछौँ। उहाँ आउने त्यो निश्चित होइन, तर आशा गर्छौँ,’ विश्वकर्माले भने।

कांग्रेसभित्र पछिल्लो समय पूर्वसभापति देउवा पक्षका ठूलो संख्याका नेता गगन थापा नेतृत्वको कार्यसमितिमा समाहित भएका छन्। पार्टीले देउवा नेतृत्वको पुरानो कार्यसमितिका नेताहरूलाई समेत समेट्ने निर्णय गरेपछि उनीहरू महाधिवेशन प्रक्रियामा फर्किएका हुन्।

यद्यपि, देउवा आफैं भने महाधिवेशन प्रक्रियामा सहभागी हुने विषय अझै स्पष्ट भइसकेको छैन। कांग्रेसभित्र उनलाई महाधिवेशन उद्घाटनमा प्रमुख अतिथिका रूपमा सहभागी गराएर पार्टी एकताको सन्देश दिनुपर्ने आवाजसमेत उठ्दै आएको छ।

विश्वकर्माले अब महाधिवेशनबाट सभापतिमा गगन थापा सर्वसम्मत हुनसक्ने सम्भावनासमेत व्यक्त गरेका छन्। पार्टीभित्रका असन्तुष्ट पक्षहरूलाई समेट्दै अघि बढ्न सके नेतृत्व चयनमा समेत सहमति बन्न सक्ने उनको संकेत छ।

जसपाका चार नेताले दिए सामूहिक राजीनामा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना केन्द्रीय नेताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्।

पूर्वसङ्घीय सांसद तथा सहिद परिवारकी सदस्य इन्दुकुमारी शर्मा, केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता घनश्याम शर्मा र युवा नेता पुष्पराज चमनले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन्।

राजीनामा घोषणा गर्ने चारै जनाले अब ‘हुँकार मधेस’ अभियानमा सक्रिय हुने जनाएका छन्।

संयुक्त विज्ञप्तिमार्फत उनीहरूले पार्टीबाट अलग भएको जानकारी गराउँदै आगामी राजनीतिक गतिविधि ‘हुँकार मधेस’ अभियानमार्फत अघि बढाउने बताएका छन्।

अनमोलको ‘बाटुलो जून’ कार्तिक २६ मा

काठमाडौं। अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘बाटुलो जून’ आगामी कार्तिक २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ।

सनराइज पिक्चरले चलचित्रको टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। टिजरमा चलचित्रको कथा पूरै खुलाइएको छैन। बरु पात्र, परिवेश र कथाको केही झलक मात्रै देखाइएको छ।

चलचित्रको टिजरले ३० को दशकको प्रेमकथातर्फ संकेत गर्छ। त्यतिबेलाको सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने शैलीलाई कथाको केन्द्रमा राखिएको निर्माण पक्षले जनाएको छ।

आजको प्रविधिमैत्री समय र तीव्र गतिमा बदलिएको प्रेमभन्दा फरक, पुरानो पुस्ताको प्रेम कस्तो थियो भन्ने भाव चलचित्रमा प्रस्तुत गरिएको छ। आदर्श प्रेमकथामार्फत तत्कालीन समाज र जीवनशैलीलाई पर्दामा उतार्ने प्रयास गरिएको निर्माण पक्षको भनाइ छ।

‘बाटुलो जून’ अभिनेता भुवन केसीले निर्देशन गरेका हुन्। चलचित्रमा अनमोल केसी, भुवन केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका छ। बेल्जियममा बस्दै आएकी अभिनेत्री गरिमा पन्तले पनि यही चलचित्रमार्फत अभिनयमा पुनरागमन गरेकी छन्।

चलचित्रको कथा सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले लेखेका हुन्। राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन तथा रोमन बज्राचार्यको पार्श्व संगीत रहेको छ। प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकका रूपमा छन्।

‘बाटुलो जून’लाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् भने विवेक थापा सहनिर्माताका रूपमा रहेका छन्।

३० को दशकको प्रेम, त्यतिबेलाको समाज र बदलिँदो समयसँगै प्रेमको स्वरूपमा आएको परिवर्तनलाई कथामा जोडिएको चलचित्रले अनमोलको अघिल्ला फिल्मभन्दा फरक स्वाद दिने अपेक्षा निर्माण पक्षको छ।

नयाँ कांग्रेसको नयाँ शैली

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही फरक देखिँदैछ। यसपटक नेतृत्व चयन मात्रै होइन, पार्टीको संरचना, प्रतिनिधित्व, बन्दसत्रको शैलीदेखि प्रचार गर्ने तरिकासम्म केही नयाँ प्रयोग हुँदैछन्।

गत विशेष महाधिवेशनबाट विधानमा गरिएको संशोधनलाई कार्यान्वयन गर्दै कांग्रेसले युवा, महिला, विभिन्न समुदाय, विदेशमा रहेका कांग्रेसजन र विभिन्न पेसामा रहेका व्यक्तिलाई पार्टीको मूल संरचनामा समेट्ने व्यवस्था गरेको छ।

कांग्रेसले ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व वडादेखि केन्द्रसम्म सुनिश्चित गर्ने व्यवस्था गरेको छ। केन्द्रीय कार्यसमितिमै ३५ वर्षमुनिका २१ जना युवा सदस्य निर्वाचित हुनेछन्।

यसले पार्टीको नेतृत्वमा नयाँ पुस्ताको प्रवेश बढाउने अपेक्षा गरिएको छ।

पार्टीका विभिन्न तहका कार्यसमितिमा महिलाको कम्तीमा एकतिहाइ प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको छ। विधानमा गरिएको यो व्यवस्थाले कांग्रेसको संगठनमा महिला सहभागिता बढाउने लक्ष्य राखेको छ।

यसपटक सहमहामन्त्रीको संख्या पनि बढाइएको छ। आठबाट बढाएर ११ जना सहमहामन्त्री रहने व्यवस्था गरिएको छ। समावेशी समूहबाट निर्वाचित हुने तथा सभापतिबाट मनोनीत हुने व्यवस्था गरिएको छ।

वर्षौँदेखि पार्टी राजनीतिमा सक्रिय भएकाहरू मात्र होइन, विभिन्न पेसा, व्यवसाय र क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई पनि कांग्रेसको नेतृत्वमा ल्याउने बाटो खोलिएको छ।

यही ‘ल्याटरल इन्ट्री’ व्यवस्थाअन्तर्गत सात जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिमध्येबाट छ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।

यसले विदेशमा रहेका कांग्रेससम्बद्ध नेपालीलाई पार्टीको केन्द्रीय संरचनासँग जोड्नेछ।

अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई पनि केन्द्रीय समितिमा सुनिश्चित गर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी श्रमिक, प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्वपीडितको प्रतिनिधित्वलाई पनि स्थान दिइएको छ।

नयाँ व्यवस्थाअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुनेछ। त्यसमध्ये १७१ जना निर्वाचित हुनेछन् भने ६१ जनालाई सभापतिले मनोनयन गर्नेछन्।

यसपटक विगतमा जस्तो औपचारिक प्यानल बनाएर चुनावमा जाने अभ्यास नगर्ने बताइएको छ। प्रतिनिधिले आफ्नो विवेकअनुसार उम्मेदवार रोज्ने कांग्रेसको भनाइ छ।

तर व्यवहारमा समूह र गुटको प्रभाव कति घट्छ भन्ने कुरा निर्वाचनको परिणामले देखाउनेछ।

करिब सात हजार प्रतिनिधिलाई एउटै हलमा राखेर छलफल गराउने पुरानो शैली यसपटक अपनाइएको छैन। प्रतिनिधिलाई अलग-अलग समूहमा राखेर राजनीतिक, सांगठनिक तथा नीतिगत दस्तावेजमाथि छलफल गराउने तयारी गरिएको छ।

त्यसका लागि तीनवटा ठूला संरचना बनाइएका छन्। तिनको नाम हिमाल, पहाड र तराई–मधेश राखिएको छ।

महाधिवेशनका राजनीतिक तथा सांगठनिक दस्तावेज डिजिटल माध्यमबाट पनि प्रतिनिधिलाई उपलब्ध गराइनेछ।

प्रतिनिधिले छलफलका क्रममा राखेका सुझाव, धारणा र बहसलाई समेत अभिलेखका रूपमा सुरक्षित गर्ने तयारी छ।

कांग्रेसले यसपटक विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने तयारी गरेको थियो। तर प्राविधिक र व्यवस्थापकीय कारण देखाउँदै अन्तिम समयमा परम्परागत मतदान प्रणालीमै जाने भएको छ।

यसपटक काठमाडौंका चोकचोकमा ठूला गेट बनाउने, होर्डिङ राख्ने, तोरण झुन्ड्याउने र अत्यधिक झण्डा प्रयोग गर्ने शैलीलाई निरुत्साहित गरिएको छ।

उम्मेदवारलाई डिजिटल माध्यमबाट प्रचार गर्न जोड दिइएको छ। पर्चा छापेर मतदानस्थलमा वितरण गर्नसमेत रोक लगाइएको छ।

देशले हालै ठूलो प्राकृतिक विपद् भोगेका कारण महाधिवेशनलाई सकेसम्म कम खर्चिलो र कम भड्किलो बनाउने नीति कांग्रेसले लिएको छ।

त्यसैले सहरभरि सजावट र प्रचार सामग्री राख्ने पुरानो शैली यसपटक देखिने छैन।

१५औँ महाधिवेशनको उद्घाटनसँगै बन्दसत्र पनि काठमाडौंको खुलामञ्चमै गर्ने तयारी गरिएको छ। ठूलो संख्यामा प्रतिनिधि व्यवस्थापन गर्न त्यहीअनुसार संरचना तयार गरिएको छ।

यसपटकको महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित नराख्ने कांग्रेसको तयारी छ। पार्टीको संगठन कसरी सुधार्ने, नयाँ पुस्तालाई कसरी जोड्ने र आगामी राजनीतिक दिशा कस्तो बनाउने भन्ने विषयमा पनि बहस गर्ने तयारी छ।

‘बदलियो कांग्रेस, बदल्छौँ देश’ र ‘कांग्रेस २.०’ जस्ता नारामार्फत पार्टीलाई नयाँ ढंगले अघि बढाउने सन्देश दिन खोजिएको छ।

यसकारण १५औँ महाधिवेशन कांग्रेसका लागि अर्को नेतृत्व चयन गर्ने नियमित अधिवेशन मात्रै होइन। युवा र महिलाको सहभागिता बढाउनेदेखि विज्ञलाई पार्टीमा भित्र्याउने, विदेशस्थित कांग्रेसजनलाई केन्द्रमा ल्याउने, डिजिटल प्रचारमा जाने र बन्दसत्रको शैली बदल्नेसम्मका प्रयोग यसपटक हुँदैछन्।

कांग्रेसको महाधिवेशनमा को आउँदैछन्, को आउँदैनन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन आज काठमाडौंको खुलामञ्चमा हुँदैछ। उद्घाटन समारोहमा कांग्रेसले प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई निम्तो दिएको छ। तर, निम्तो पाएका सबै शीर्ष नेता भने खुलामञ्चमा देखिने छैनन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफैं सहभागी हुने तयारीमा छन्। रास्वपाका प्रवक्ता जगदिश खरेलका अनुसार अहिलेसम्म लामिछाने नै कार्यक्रममा जाने तय भएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने कांग्रेसको महाधिवेशनमा जाने छैनन्। बुवाको निधनपछि बरखीमा रहेका ओलीको ठाउँमा एमाले महासचिव शंकर पोखरेल सहभागी हुनेछन्। पोखरेलले एमालेका तर्फबाट महाधिवेशनलाई शुभकामना दिने कार्यक्रम छ।

यता नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने आफैं खुलामञ्च पुग्ने तयारीमा छन्। पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार प्रचण्डले कांग्रेस महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन्। प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले पनि उनको आजको कार्यतालिकामा कांग्रेस महाधिवेशनमा सहभागी हुने कार्यक्रम रहेको बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि कार्यक्रममा सहभागी हुनेछन्। झापामा रहेका लिङ्देन आजै काठमाडौं आउने र त्यसपछि कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव भने नआउने भएका छन्। उनको ठाउँमा सहअध्यक्ष शरतसिंह भण्डारी सहभागी हुनेछन्। यादवले भण्डारीलाई महाधिवेशनमा पार्टीको प्रतिनिधित्व गर्न पठाएको उनको सचिवालयले जनाएको छ।

यसरी कांग्रेसले सबै प्रमुख दलका शीर्ष नेतालाई बोलाए पनि खुलामञ्चमा केही शीर्ष नेता आफैं देखिनेछन् भने केहीको प्रतिनिधित्व दोस्रो तहका नेताले गर्ने भएका छन्।

कांग्रेसको १५औँ महाधिवेशन ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित हुँदैछ।

स्पेनमा भारी वर्षापछि बाढीको जोखिम

काठमाडौं । अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले अत्यावश्यकबाहेकका यात्रामा प्रतिबन्ध लगाएका छन्।

बाढीको जोखिम बढेपछि कातालोनियामा आपत्कालीन योजना सक्रिय पारिएको छ। २० प्रशासनिक क्षेत्रमा आइतबार दिउँसोसम्म यात्रा प्रतिबन्ध लागू गरिएको छ। अधिकांश यात्रुवाहक तथा क्षेत्रीय रेल सेवा पनि स्थगित गरिएको अधिकारीहरूले बताएका छन्।

मौसमविद्हरूले आइतबार बिहान मौसमजन्य जोखिम उच्चतम तहमा पुग्न सक्ने चेतावनी दिएका छन्। केही क्षेत्रमा तीन घण्टामै ९० मिलिमिटरभन्दा बढी र २४ घण्टामा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। जोखिममा रहेका क्षेत्रमा मोबाइल फोनमार्फत आपत्कालीन सूचना पठाइएको छ।

कातालोनियाका क्षेत्रीय राष्ट्रपति साल्भाडोर इयाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। भारी मेघगर्जनसहितको वर्षा, तीव्र हावा तथा पानीका बवण्डर र टोर्नाडो आउन सक्ने चेतावनी दिइएको छ। मौसम प्रणाली आइतबार उत्तरतर्फ सर्ने अनुमान गरिएको छ।

यसैबीच, मध्यपूर्वी स्पेनको अल्बासेते प्रान्तस्थित माद्रिगेरासमा आएको आकस्मिक बाढीमा १०२ वर्षीया महिलाको मृत्यु भएको छ। बाढीका कारण घर, सवारीसाधन र सार्वजनिक संरचनामा क्षति पुगेको छ।

करिब दुई घण्टाको अवधिमा प्रतिवर्गमिटर १४० मिलिमिटरभन्दा बढी वर्षा भएपछि आएको बाढीबाट करिब ९० जनालाई सुरक्षित स्थानमा सारिएको थियो। बाढीका कारण प्रभावित स्वास्थ्य केन्द्रबाट सेवा सञ्चालन गर्न नसकिएपछि स्वास्थ्य सेवा अस्थायी रूपमा रेडक्रसको परिसरबाट सञ्चालन गरिएको छ।

रातरात दीपक भट्टको कारागार सरुवा!

काठमाडौं। सम्पत्ति शुद्धीकरण तथा बैंकिङ कसुरको मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका व्यवसायी दीपक भट्टलाई रातारात सिन्धुपाल्चोक पुर्‍याइएको छ।

थुनामा रहेका भट्टलाई कारागार व्यवस्थापन विभागको आदेशमा शनिबार साँझै स्थानान्तरण गरिएको हो।

सरुवा भयो, तर किन भयो ? यसको स्पष्ट जवाफचाहिँ कारागार प्रशासनले दिएको छैन।

भट्टको सरुवा त्यतिबेला भएको छ, जतिबेला पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडिएको सम्पर्क र गतिविधिबारे प्रहरीको अनुसन्धान चलिरहेको छ। यही कारण भट्टको सरुवालाई सामान्य प्रशासनिक निर्णय मात्रै मान्न नहुने स्रोतको दाबी छ।

अनुसन्धानका क्रममा जबरासँग निकट भनिएका इनम सापकोटामार्फत भट्ट र अर्का व्यवसायी सुलभ अग्रवालसँग सम्पर्क हुने गरेको तथ्य खुलेको प्रहरी स्रोतको दाबी छ। यही कनेक्सन खोतल्ने क्रममा सापकोटालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएर मोबाइल जाँचदेखि बयानसम्म लिएको थियो।

नयाँ दिल्ली हुँदै दुबई उड्न लागेका सापकोटालाई केहीबेर सोधपुछ गरेपछि प्रहरीले छाड्यो। तर, उनले दिएको सूचनाले प्रहरीको अनुसन्धानको घेरा भने फराकिलो बनाएको बताइन्छ।

स्रोतका अनुसार सापकोटासँगको सोधपुछपछि जबरा, भट्ट र अग्रवालबीचको सम्पर्कबारे प्रहरीले थप जानकारी पाएको छ। त्यसैको बीचमा नख्खुमा रहेका भट्टलाई सिन्धुपाल्चोक सारिएपछि सरुवाको कारणमाथि प्रश्न उठेको हो।

यद्यपि, सम्पर्क हुनु नै अपराध होइन। जबरा, भट्ट र अग्रवालबीचको भनिएको सम्पर्कबाट गैरकानुनी काम भएको हो कि होइन भन्ने पनि अहिलेसम्म पुष्टि भएको छैन।

भट्ट यसअघि डिल्लीबजारबाट नख्खु पुगेका थिए। अहिले नख्खुबाट सिन्धुपाल्चोक। कारागार फेरिएसँगै भट्टलाई कहाँ राख्ने भन्ने निर्णय मात्रै हो कि यसपछाडि अरू कुनै ‘कनेक्सन’ पनि छ? भन्ने चासो सर्वत्र बढेको छ।

कारागार व्यवस्थापन विभागले भने सरुवाको औपचारिक कारण सार्वजनिक गरेको छैन। विभागको पत्रका आधारमा सक्कल फाइल र आवश्यक कागजातसहित भट्टलाई सुरक्षा घेरामा सिन्धुपाल्चोक पठाइएको नख्खु कारागारले जनाएको छ।

भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार तथा बैंकिङ कसुरसम्बन्धी मुद्दा विचाराधीन छन्।अब उनको पछिल्लो सरुवा नियमित प्रशासनिक प्रक्रिया थियो वा जबरा प्रकरणसँग जोडिएको अर्को कडी, त्यसको जवाफ भने अनुसन्धानले नै देला।

रसुवामा बाढी प्रभावितलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य तथा दन्त शिविर

रसुवा । बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले रसुवाको उत्तरगया गाउँपालिकामा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सुरु भएको छ।

रसुवा सामुदायिक विकास र सीईटीओपी अस्ट्रेलियाको आयोजनामा तथा उत्तरगया गाउँपालिकाको समन्वयमा शनिबारदेखि शिविर सञ्चालनमा आएको हो। विपद्पछि प्रभावित समुदायमा स्वास्थ्य सेवाको पहुँच सहज बनाउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।

उत्तरगया गाउँपालिका–५ लहरेपौवास्थित श्री शिवालय आधारभूत विद्यालयबाट सुरु भएको शिविरमा बाढी तथा पहिरो प्रभावित क्षेत्रका नागरिकसँगै स्थानीय बासिन्दालाई लक्षित गरिएको छ। शिविरमा स्वास्थ्य परीक्षण, दन्त उपचार, स्वास्थ्य परामर्श र आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको छ।

दुई दिन सञ्चालन हुने दन्त शिविरमा दाँत तथा मुख स्वास्थ्य परीक्षण, दाँत भर्ने, फुकाल्ने तथा आवश्यक परामर्श सेवा दिइँदैछ। अनुभवी चिकित्सकबाट स्वास्थ्य परीक्षण र परामर्शका साथै दीर्घरोगलगायत समस्याका कारण नियमित औषधि सेवन गरिरहेका बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइने आयोजकले जनाएको छ।

छ दिनसम्म सञ्चालन हुने शिविरअन्तर्गत असोज १९ र २० गते जिबजिबे तथा असोज २१ र २२ गते धुन्चेमा स्वास्थ्य तथा दन्त शिविर सञ्चालन गरिनेछ।

शिविरमार्फत बाढी तथा पहिरो प्रभावित नागरिकसँगै स्थानीय समुदायलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउँदै प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ।


 

साधारण सभामा म्याद गुज्रिएको चिउरा बाँडेपछि…

काठमाडौं । सहकारीको साधारण सभा, सदस्यलाई उपहार। तर उपहार खोलेर हेर्दा चिउराको म्याद नै गुज्रिएको भेटिएपछि हंगामा मच्चिएको छ।

कोटेश्वरस्थित होटल ए वान भेन्युमा शुक्रबार आयोजित हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाको १७औँ साधारण सभामा यस्तो घटना भएको हो। सभापछि सदस्यलाई खाद्य सामग्रीसहितको उपहार बाँडिएको थियो। त्यसमध्ये चिउराको म्याद १२ देखि १३ दिनअघि नै सकिएको भेटिएपछि सदस्यहरूले विरोध जनाएका थिए।

विवाद बढेपछि नजिकैको प्रहरी प्रभागबाट टोलीसमेत सभास्थल पुगेको थियो। म्याद गुज्रिएको चिउरा फिर्ता गरेर नयाँ दिने सहमति भएपछि विवाद साम्य भएको बताइएको छ।

सहकारीकी सचिव किरण मोक्तानले चिउराको म्याद सकिएको स्वीकार गरेकी छन्। उनले भनिन्, ‘हामीले शेयर सदस्यलाई चिउरा उपहार दिएका थियौँ। त्यसको म्याद १२–१३ दिन नाघेको रहेछ। त्यही विषयमा सामान्य विवाद भएको हो।’

मोक्तानका अनुसार उक्त चिउरा सहकारीले आफैँ उत्पादन गरेको नभई बजारबाट खरिद गरेर ल्याइएको थियो। म्याद सकिएको जानकारी नभएको बताउँदै उनले सबै सदस्यलाई चिउरा साट्न आउन सन्देश पठाइसकेको जानकारी दिइन्।

सहकारीका अध्यक्ष डा. केशवप्रसाद श्रेष्ठले पनि चिउराको म्याद सकिएको स्वीकार गरेका छन्। उनका अनुसार उपहारका लागि ६–७ सय प्याकेट चिउरा ल्याइएको थियो। उनले भने, ‘त्यसको म्याद सकिएको रहेछ। हामीले पनि हेरेनौँ। त्यही विषयलाई लिएर वादविवाद भएको हो। चिउरा फिर्ता ल्याउन भनिसकेका छौँ।’

अध्यक्ष र सचिवको भनाइमै चिउरा सहकारीकै उत्पादन हो वा बाहिरबाट खरिद गरिएको हो भन्नेमा फरक देखिएको छ। सचिवले बजारबाट किनेर ल्याइएको बताउँदा अध्यक्षले आफ्नै उत्पादन भएको बताएका छन्।

सहकारीले यसअघि साधारण सभामा सदस्यलाई उपहारस्वरूप नगद दिने गरेको थियो। सरकारले नगद वितरणमा रोक लगाएपछि यसपटक खाद्य सामग्रीसहितको उपहार दिने व्यवस्था गरिएको बताइएको छ।

पीआरवालालाई राजदूत!

काठमाडौं। सुशासनको डंका पिट्दै आएको बालेन सरकारको राजदूत सिफारिसमै प्रश्न उठेको छ। सरकार एकातिर एनजिओमाथि छानबिन गर्न समिति बनाउँछ, अर्कोतिर एनजिओमा आबद्ध र विदेशी पीआर लिएका व्यक्तिलाई राजदूतमा सिफारिस गर्छ।

असोज २ गतेको मन्त्रिपरिषद्ले भारत, चीन, अमेरिका, जापानसहित १३ देशका लागि राजदूत सिफारिस गर्‍यो। जापानका लागि प्रस्तावित जिग्यानकुमार थापाको नाम आएपछि भने सरकारको आफ्नै मापदण्ड सम्झाइएको छ।

परराष्ट्र मन्त्रालयले २०८३ जेठ १४ गते निकालेको विज्ञापनमा स्पष्ट थियो – राजदूत बन्ने व्यक्तिले कुनै विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति (पीआर) वा अध्यागमन सुविधा लिएको हुनुहुँदैन। तर थापाले सन् २०१८ मै जापानको पीआर लिएको दाबी गरिएको छ।

सन् २००० मा जापान पुगेका थापा लामो समयदेखि नेपाल–जापान सम्बन्धसँग जोडिएका गतिविधिमा सक्रिय छन्। कानागावा इन्टरनेशनल फाउण्डेशनसँग आबद्ध उनी जापानमा नेपाली समुदायसम्बन्धी काममा समेत संलग्न रहेको बताइन्छ। उनकी श्रीमती यशोदा बस्नेत जापानमा नेपाली भाषाको विद्यालय चलाउँछिन्।

नेपालबाट जापान जाने विशिष्ट व्यक्तिको भ्रमणमा थापाले दोभाषेको काम गर्दै आएको स्रोतको दाबी छ। राष्ट्रपति रामवरण यादवदेखि तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसम्मको भ्रमणमा उनले भाषिक सहजीकरण गरेको बताइएको छ।

यहीँ अर्को विरोधाभास देखिन्छ। सरकारले विदेशी सहयोगमा सञ्चालित एनजिओको गतिविधि छानबिन गर्न समिति बनाएको छ। सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक झडपमा विदेशी रकम प्रयोग भएको आशंकापछि बनेको समितिले एक महिनामा प्रतिवेदन दिने भनिए पनि तीन महिना पुग्न लाग्दा प्रतिवेदन आएको छैन।

तर एनजिओसँग जोडिएका व्यक्तिलाई राजदूतको टिकट दिन भने सरकारलाई त्यति समय लागेन।

उता, विदेशस्थित नेपाली नियोगका दरबन्दी कटौतीले कूटनीतिज्ञलाई अर्को तनाव दिएको छ। नयाँदिल्ली र बेइजिङका आर्थिक मामिला हेर्ने पद कटौतीमा परेका छन्। चार वर्षका लागि गएका कर्मचारीलाई कार्यकाल नसकिँदै फर्किन भनिएको छ।

छोराछोरीसहित विदेश पुगेका कर्मचारीलाई शैक्षिक सत्रकै बीचमा फर्काउँदा परिवार कहाँ जाने, बच्चालाई कहाँ पढाउने भन्ने प्रश्न उठेको छ।

सान फ्रान्सिस्कोस्थित नेपाली वाणिज्यदूतावास स्थापना गर्न गएका लक्ष्मण खनालसमेत आधा कार्यकाल नपुग्दै फर्किनुपर्ने अवस्थामा छन्। डेनमार्कलगायत अन्य नियोगबाट पनि कर्मचारी फिर्ता बोलाउने तयारी छ।

राजदूत छान्दा आफ्नै विज्ञापनको मापदण्ड कता पुग्यो ? नियोगका कर्मचारी फर्काउँदा उनीहरूको परिवार र जिम्मेवारी कता पुग्यो ? बालेन सरकारतर्फ प्रश्नहरूको वाण तेर्सिएको छ।

कांग्रेस महाधिवेशनमा ओली नजाने, प्रचण्ड जाने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।

ओलीको सट्टा एमालेका महासचिव शंकर पोखरेल महाधिवेशनमा सहभागी भएर शुभकामना दिने तय भएको एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए ।

कांग्रेसको १५औँ महाधिवेशन आज आइतबार दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ ।

यसैबीच, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । प्रचण्डको सचिवालयका अनुसार अहिलेसम्म उनी सहभागी हुने कार्यक्रम तय भएको छ । सचिवालयले आकस्मिक परिस्थिति नआए प्रचण्ड महाधिवेशनमा जाने जनाएको छ ।

कांग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन अधिकांश राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको जनाएको छ ।

कांग्रेसको १५औ महाधिवेशन: खुलामञ्चमा तयारी पूरा [तस्वीरहरू]

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आज काठमाडौंको खुलामञ्चमा हुँदैछ। दिउँसो २ बजे हुने उद्घाटनका लागि मञ्च निर्माणदेखि कुर्सी व्यवस्थापन र झण्डा राख्नेसम्मका काम पूरा भएका छन्।

महाधिवेशन उद्घाटनस्थलमा आवश्यक तयारी पूरा भएसँगै खुलामञ्चमा चहलपहल बढेको छ। देशभरबाट आएका महाधिवेशन प्रतिनिधि तथा नेताहरूको उपस्थितिमा पार्टीको नयाँ नेतृत्व चयन र भावी राजनीतिक दिशाबारे छलफल अघि बढ्नेछ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार यस महाधिवेशनमा ७ हजार ५०० भन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ। उद्घाटन समारोहमा पार्टी सभापति गगनकुमार थापासहित कांग्रेसका शीर्ष नेता र अन्य राजनीतिक दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

उद्घाटनपछि सोमबार र मंगलबार बन्दसत्र तथा अन्य कार्यक्रम सञ्चालन हुनेछन्। पार्टीको नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन गर्ने तालिका छ।


 

कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने विजय सम्बाहाम्फेको घोषणा

काठमाडौँ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का पूर्वअध्यक्ष विजय सम्बाहाम्फेले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँमा सुरु हुँदैछ। सोमबार उम्मेदवारको मनोनयनको कार्यक्रम तोकिएको छ। सम्बाहाम्फेले आदिबासी जनजातितर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए।

तेह्रथुमको फेदाप गाउँपालिका-३ जलजलेमा जन्मिएका सम्बाहाम्फे काठमाडौँको लोयल्टी स्कुलका संस्थापक सञ्चालक हुन्। उनी हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-९ का बासिन्दा हुन्। शिक्षा, पर्यटन, कृषि, जलविद्युत र वित्तीय संस्थाहरूमा आवद्ध रहेर देश र समाजकालागि सेवा गर्दै आएका उनी केही समयदेखि तेह्रथुमबाट कांग्रेसको राजनीति पनि गर्दै आएका छन्।

उनी नेपाली कांग्रेस तेह्रथुमको कोषाध्यक्ष भइसकेका नेता हुन्। यसअघि ०७४ को निर्वाचनमा उनी तेह्रथुम प्रदेशसभा क्षेत्र-२ बाट उम्मेदवार थिए।

पार्टीको केन्द्रीय सूचना तथा सञ्चार विभागको सदस्य, पेशागत तथा बुद्धिजीवी विभागको सचिव भइसकेका उनी यसअघि राष्ट्रिय उच्च शिक्षा आयोगको सदस्य समेत भएका थिए।

तीन उपसभापति भए भीष्मराज आङ्देम्बेले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको विधान संशोधन गरी तीन जना उपसभापतिको व्यवस्था भए उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनले विधान संशोधन गरी उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको संख्या थप गर्ने चर्चा भइरहेका बेला आङ्देम्बेको उम्मेदवारी तयारीबारे विवतरण सार्वजनिक भएको हो ।

‘पार्टीको विधान संशोधन गरी उपसभापतिको संख्या तीन बनाउँदा उहाँ उपसभापति पदको उम्मेदवार बन्नुहुन्छ,’ उनी निकट स्रोतले भन्यो ।

आङ्देम्बे यसअघि कांग्रेसका सहमहामन्त्री थिए । हाल उनी पार्टीको संसदीय दलको नेता छन् । संसदीय दलको नेता बनेपछि उनी १५औँ महाधिवेशनमा कुन पदमा उम्मेदवारी दिन्छन् भन्ने चासो बढेको थियो ।

यस्तोमा, विधान संशोधनमार्फत तीन उपसभापति पदको व्यवस्था गरिए उक्त पदमा उम्मेदवार दिने भएका हुन् । कांग्रेसमा हाल दुई जना उपसभापतिको व्यवस्था छ ।

कांग्रेस सहमहामन्त्रीमा सीता गुरुङको उम्मेदवारी घोषणा

काठमाडौँ। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सीता गुरुङले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँमा सुरु हुँदैछ। महाधिवेशनअन्तर्गत सोमबार केन्द्रीय कार्यसमितिको लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। तीन कार्यकाल केन्द्रीय सदस्य भएर अनुभव बटुलिसकेकी युवा नेता गुरुङले यसपटक सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

उनी तेह्रथुमबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आएकी छन्। आठराई गाउँपालिका-४, साविक इवामा जन्मिएकी गुरुङले तेह्रथुमबाटै विद्यार्थी राजनीति सुरु गरेकी थिइन्।

नेपाल विद्यार्थी संघको जिल्ला कोषाध्यक्ष र नेपाल महिला संघको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सचिवसम्म बनेकी गुरुङ ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेह्रथुमबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्। त्यही कार्यकालमा उनी ११ महिना सहरी विकासमन्त्री समेत भइन्।

०७४ को निर्वाचनमा भने उनी तेह्रथुमबाट पराजित भएकी थिइन्। दुवै संविधानसभामा सदस्य रहेकी गुरुङ २०७४ मा कांग्रेस नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री समेत भएकी थिइन् । उनले संविधान मस्यौदा समितिको सदस्य भएर समेत काम गरेकी थिइन्।

पार्टीमा आदिबासी जनजाति विभागको प्रमुख भएर समेत काम गरिसकेकी उनी यसअघि क्रियाशील सदस्यतासम्बन्धी तत्कालीन महामन्त्री गगनकुमार थापा संयोजकत्वको कार्यदलमा सदस्य थिइन्।

कांग्रेसको संगठनमा लामो समय काम गरिसकेकी गुरुङ नेपालमा सामाजिक समावेशीकरण, महिला र आदिबासी जनजाति आन्दोलन तथा सीमान्तकृत समुदायको अधिकारका सवालमा समेत निरन्तर सक्रिय रुपमा वकालत गर्दै आएकी छन्।

कांग्रेसको विधानबमोजिम हाल ११ जना सहमहामन्त्री हुने व्यवस्था छ। त्यसमध्ये आठ जना विभिन्न समावेशी समूहबाट निर्वाचित भएर आउने छन् भने तीन जना मनोनीत हुनेछन्।

गुरुङले महिला वा आदिबासी जनजातितर्फ सहमहामन्त्रीमा आफ्नो उम्मेदवारी हुने बताएकी छन्। ‘पार्टीको नेतृत्वसँग छलफल भइरहेको छ। म महिला वा आदिवासी जनजाति दुवैतर्फ सहमहामन्त्रीको लागि तयार छु, नेताहरू र आफ्नै साथीहरूको सल्लाह सुझाव लिएर अघि बढ्नेछु,’ उनले भनिन्।

कांग्रेस हाँकेका आठ सभापति (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसको आठ दशक लामो राजनीतिक इतिहासमा अहिलेसम्म आठ जना नेताले सभापतिको जिम्मेवारी सम्हालेका छन् ।

राणा शासनविरुद्धको संघर्षबाट स्थापित कांग्रेसको नेतृत्व परिवर्तन मुलुकको राजनीतिक परिवर्तनसँग पनि जोडिँदै आएको छ ।

कांग्रेसको पहिलो सभापति टंकप्रसाद आचार्यदेखि वर्तमान सभापति गगनकुमार थापासम्मको नेतृत्व यात्रा यसप्रकार छ ।

१. टंकप्रसाद आचार्य

नेपाली कांग्रेसका पहिलो सभापति टंकप्रसाद आचार्य हुन् । २००३ सालमा कलकत्ताको भवानीपुरमा भएको महाधिवेशनबाट उनी सभापति बनेका थिए । कांग्रेस स्थापनाअघिको राजनीतिक संगठन निर्माण र राणा शासनविरुद्धको संघर्षमा उनको भूमिका थियो ।

२. बीपी कोइराला

आचार्यपछि बीपी कोइरालाले कांग्रेसको नेतृत्व सम्हाले । उनी कांग्रेसको सभापति तीनपटक बने । २०१५ सालको पहिलो आमनिर्वाचनमा कांग्रेसले बहुमत पाएपछि बीपी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । २०१७ सालमा राजा महेन्द्रले निर्वाचित सरकार हटाएपछि उनी पञ्चायतविरुद्धको संघर्षमा सक्रिय रहे ।

३. मातृकाप्रसाद कोइराला

बीपीपछि मातृकाप्रसाद कोइराला कांग्रेसको तेस्रो सभापति बने । उनले दुईपटक पार्टीको नेतृत्व गरे । कांग्रेसको प्रारम्भिक राजनीतिक विकासमा उनको नेतृत्व महत्वपूर्ण मानिन्छ ।

४. सुवर्णशमशेर राणा

त्यसपछि सुवर्णशमशेर राणाले कांग्रेसको नेतृत्व सम्हाले । राणा परिवारमा जन्मिएका उनी राणा शासनविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय थिए । कांग्रेसको संगठन र प्रजातान्त्रिक संघर्षमा उनको महत्वपूर्ण भूमिका रह्यो ।

५. कृष्णप्रसाद भट्टराई

पञ्चायतविरुद्धको संघर्षको महत्वपूर्ण चरणमा कृष्णप्रसाद भट्टराईले कांग्रेसको नेतृत्व गरे । उनी २०४४ सालमा सभापति बने । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्था पुनःस्थापित भयो र भट्टराई प्रधानमन्त्री बने ।

६. गिरिजाप्रसाद कोइराला

भट्टराईपछि गिरिजाप्रसाद कोइरालाले कांग्रेसको नेतृत्व सम्हाले । उनले लामो समय पार्टीको नेतृत्व गरे । उनको राजनीतिक यात्रा बहुदलीय व्यवस्थाको पुनःस्थापनादेखि माओवादी शान्ति प्रक्रिया र गणतन्त्र स्थापनासम्मका महत्वपूर्ण घटनासँग जोडिएको छ ।

७. सुशील कोइराला

१२औँ महाधिवेशनबाट सुशील कोइराला कांग्रेस सभापति बने । उनको नेतृत्वमा संविधान निर्माणको प्रक्रिया अघि बढ्यो । २०७२ सालमा संविधान जारी हुँदा उनी नेपालको प्रधानमन्त्री थिए ।

८. शेरबहादुर देउवा

१३औँ महाधिवेशनबाट शेरबहादुर देउवा कांग्रेस सभापति बने । १४औँ महाधिवेशनबाट उनी दोस्रो कार्यकालका लागि पनि निर्वाचित भए । लामो समय पार्टीको नेतृत्व गरेका देउवा गत वर्षको पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि नेतृत्वबाट अलग भए ।

९. गगनकुमार थापा

विशेष महाधिवेशनबाट गगनकुमार थापा कांग्रेसको सभापति बने । उनको नेतृत्वमा कांग्रेस अहिले १५औँ महाधिवेशनमा प्रवेश गरेको छ ।

व्यवस्था बदल्दै आएको कांग्रेस अब आफैँ बदलिने मोडमा

काठमाडौं । नेपाली कांग्रेसको स्थापना नेपालको राजनीतिक इतिहासमा राणा शासनविरुद्धको संघर्षसँग जोडिएको छ ।

निरंकुश राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले संघर्षरत राजनीतिक शक्तिहरूबीचको एकताबाट कांग्रेसको जन्म भएको हो ।

कांग्रेसको इतिहासबारे जानकार डा. जगत नेपालका अनुसार नेपाली कांग्रेस स्थापना हुनुअघि नेपालमा राणा शासनविरुद्ध विभिन्न राजनीतिक समूहले अलग–अलग रूपमा आन्दोलन गरिरहेका थिए । ती शक्तिहरूलाई एउटै राजनीतिक धारमा ल्याउने प्रयासस्वरूप कांग्रेसको आधार तयार भएको थियो ।

नेपालमा प्रजातन्त्रका लागि संगठित राजनीतिक आन्दोलनको आवश्यकता महसुस भइरहेका बेला २००३ सालमा भारतको बनारसमा नेपाली राष्ट्रिय कांग्रेस गठन भएको थियो । यसले राणा शासनविरुद्ध राजनीतिक तथा संगठित आन्दोलन अघि बढायो ।

त्यसैगरी, सुवर्णशमशेर राणाको नेतृत्वमा नेपाल प्रजातन्त्र कांग्रेस गठन भएको थियो । यी दुवै राजनीतिक संगठनको मुख्य उद्देश्य राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना गर्नु थियो ।

दुई संगठनले छुट्टाछुट्टै रूपमा संघर्ष गरिरहेका बेला राणा शासनविरुद्धको आन्दोलनलाई थप प्रभावकारी बनाउन एकता आवश्यक रहेको महसुस भयो । त्यसपछि २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता भयो ।

यही एकताबाट नेपाली कांग्रेसको औपचारिक स्थापना भयो । बीपी कोइराला, मातृकाप्रसाद कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंहलगायतका नेताहरू कांग्रेसको प्रारम्भिक नेतृत्वमा थिए ।

कांग्रेस स्थापनाको मुख्य राजनीतिक उद्देश्य राणा शासन अन्त्य गर्नु र नेपालमा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्नु थियो । पार्टी गठनसँगै राणा शासनविरुद्धको आन्दोलन थप संगठित बन्दै गयो ।

कांग्रेस स्थापना भएको केही समयमै २००७ सालको जनक्रान्ति भयो । कांग्रेसले राणा शासनविरुद्ध सशस्त्र तथा राजनीतिक आन्दोलन अघि बढायो । आन्दोलनको दबाब बढ्दै गएपछि राणा शासन अन्त्य भयो । २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापना भयो ।

त्यसपछि कांग्रेसले मुलुकको संसदीय राजनीतिमा सक्रिय भूमिका खेल्यो । २०१५ सालको पहिलो आमनिर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गर्‍यो । बीपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने ।

तर, २०१७ सालमा तत्कालीन राजा महेन्द्रले निर्वाचित सरकार र संसद् विघटन गर्दै पञ्चायती व्यवस्था सुरु गरेपछि कांग्रेस पुनः संघर्षमा फर्कियो । त्यसपछि लामो समयसम्म कांग्रेसले पञ्चायतविरुद्ध आन्दोलन गर्‍यो ।

२०४६ सालको जनआन्दोलनमार्फत बहुदलीय व्यवस्था पुनःस्थापित भयो । त्यसपछि २०६२/६३ को जनआन्दोलन हुँदै मुलुक गणतन्त्रतर्फ अघि बढ्यो । २०६५ जेठ १५ गते नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भयो ।

यसरी राणा शासनविरुद्ध प्रजातन्त्रका लागि सुरु भएको राजनीतिक एकताबाट जन्मिएको कांग्रेसले नेपालको राजनीतिक परिवर्तनका विभिन्न चरणमा भूमिका निर्वाह गर्दै आएको छ ।

डा. नेपालका अनुसार कांग्रेसको स्थापना आफैँमा राजनीतिक एकताको परिणाम थियो । ‘राणा शासनविरुद्ध संघर्ष गरिरहेका शक्तिहरूबीचको एकताबाट कांग्रेस बनेको हो । त्यसैले कांग्रेसको स्थापना नै राजनीतिक परिवर्तनको अभियानसँग जोडिएको छ,’ उनले भने ।

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, नेतृत्वसँगै नीतिमा बहस

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा दिउँसो २ बजे महाधिवेशनको उदघाटन हुने प्रवक्ता देवराज चालिसले बताए ।

यही २२ असोजसम्म हुने महाधिवेशनले नेतृत्व चयनसँगै नीति पनि तय गर्ने भएको छ । महाधिवेशनको उदघाटनमा निवर्तमान सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिको रुपमा सभापति गगन थापाले आमन्त्रण गरेका छन् । तर, देउवा आउने निश्चित छैन ।

कांग्रेस त्यो शक्ति हो, जसले राणा शासनविरुद्ध सशस्त्र क्रान्ति गर्‍यो । निरंकुश पञ्चायतविरुद्ध लड्यो । राजतन्त्र अन्त्यको आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्यो ।

सोही गर्विलो राजनीतिक इतिहास भएको कांग्रेस नयाँ नेतृत्व, नयाँ नीति र बदलिएको सांगठनिक संरचना तय गर्ने उद्देश्यसहित आज महाधिवेशनमा होमिँदै छ ।

महाधिवेशनका लागि देशभरबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आएका छन्् । यसपटक महाधिवेशनमा सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ ।

प्रवक्ता चालिसेका अनुसार महाधिवेशनको तयारी पूरा भएको छ । शनिबार खुलामञ्चमा आयोजित पत्रकार सम्मेलनमा उनले यसपटकको महाधिवेशनलाई नेतृत्व चयनमा मात्रै सीमित नराखेर नीति चयनको अधिवेशन बनाउने प्रयास भइरहेको बताए ।

‘यो अधिवेशन नेता चयनभन्दा नीति चयनको अधिवेशनका रूपमा परिणत गर्ने प्रयत्न गर्नेछौँ,’ चालिसले पत्रकारहरूसँग भने ।

कांग्रेसले बीपी कोइरालाको विचारलाई बदलिएको नेपालको आवश्यकतासँग जोडेर आगामी राजनीतिक बाटो तय गर्ने उनको भनाइ छ । आधुनिक र प्रविधियुक्त नेपालको परिकल्पनालाई बीपीको विचारसँग जोड्ने उद्देश्य रहेको उनले बताए ।

‘हामी यो महाधिवेशनबाट बीपीको विचारसँग आधुनिक र प्रविधियुक्त नेपालको परिकल्पना जोड्छौँ र अघि बढ्छौँ,’ उनले भने ।

कांग्रेसले १५औँ महाधिवेशनलाई विगतका महाधिवेशनभन्दा केही फरक बनाउने दाबी गरेको छ ।

प्रवक्ता चालिसेका अनुसार यसपटक नेतृत्व चयनसँगै आगामी पाँच वर्षको नीति स्पष्ट बनाउने प्रयास हुनेछ ।

महाधिवेशन उद्घाटनपछि हुने बन्दसत्रमा राजनीतिक, आर्थिक, सामाजिक, सांगठनिक तथा परराष्ट्र नीतिसम्बन्धी विषयमा छलफल हुनेछ ।

सभापति गगनकुमार थापाले आगामी पाँच वर्षका लागि कांग्रेसको राजनीतिक दिशा समेटिएको कार्यपत्र प्रस्तुत गर्ने तयारी गरेका छन् । त्यसमा अर्थतन्त्र, उत्पादन, रोजगारी, परराष्ट्र नीति र शासन व्यवस्थासम्बन्धी विषय समेटिने कांग्रेसले जनाएको छ ।

उपसभापति विश्वप्रकाश शर्माले पनि समसामयिक राजनीतिक परिस्थितिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।

कांग्रेसभित्र लामो समयदेखि महाधिवेशनलाई नेतृत्व चयनमा बढी केन्द्रित गरिएको र नीति बहस कमजोर भएको आलोचना हुँदै आएको छ ।
यसपटक पार्टी नेतृत्वले भने महाधिवेशनलाई नीति निर्माणको थलो बनाउने बताएको छ ।

अदलीबदली गर्दै कांग्रेस

१५औँ महाधिवेशनले कांग्रेसको नेतृत्व मात्रै होइन, सांगठनिक संरचनासमेत परिवर्तन गर्ने भएको छ । महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले पार्टीका विभिन्न तहबाट सुझाव संकलन गरेको छ ।

पदाधिकारी संख्या बढाउनुपर्ने प्रस्तावसमेत समितिमा पुगेको छ । विशेषगरी युवालाई पार्टीको माथिल्लो नेतृत्वमा ल्याउनुपर्ने, महिलाको प्रतिनिधित्व बढाउनुपर्ने र खुला सहमहामन्त्रीको व्यवस्था गर्नुपर्ने सुझाव आएको नेताहरूले बताएका छन् ।

विधान संशोधन समितिका सदस्य सचिव प्रताप पौडेलले युवा र महिलाको प्रतिनिधित्व बढाउन दबाब रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘यो पटक ३५ वर्षमुनिका युवाको ठूलो संख्या प्रवेश भएको छ । उनीहरूलाई समेत पदाधिकारीमा ल्याउनुपर्ने सुझाव आएको छ ।’

हालको विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र विभिन्न क्लस्टरबाट आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

सभापतिले थप तीन सहमहामन्त्री र एक कोषाध्यक्ष मनोनयन गर्न सक्ने व्यवस्था पनि छ । अब उपसभापति, महामन्त्री र सहमहामन्त्रीको संख्या थप्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

यद्यपि विधान संशोधनका सबै प्रावधान यही महाधिवेशनबाट कार्यान्वयन हुन्छन् वा केही व्यवस्था आगामी महाधिवेशनबाट लागू हुन्छन् भन्ने टुंगो लाग्न बाँकी छ ।

यसबीच प्रतिनिधि दर्ताको काम पनि सुरु भइसकेको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा प्रदेशअनुसार छुट्टाछुट्टै स्थानबाट नाम दर्ता भइरहेको हो ।

प्रत्येक प्रतिनिधिले तीन हजार पाँच सय रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।दर्तापछि प्रतिनिधिलाई झोला, पार्टी विधान, डायरी, कलम, परिचयपत्र र खाना तथा खाजाका कुपन उपलब्ध गराइएको छ ।

महाधिवेशन प्रतिनिधिलाई महाधिवेशनसम्बन्धी सूचना क्यूआर कोड र एसएमएसमार्फत उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।

कांग्रेसले प्रतिनिधिको बसोबासका लागि काठमाडौंको गौशाला, कोटेश्वर, ठमेल, लाजिम्पाट, नयाँ बसपार्क, बालाजु, सुन्धारा र कलंकी क्षेत्रका होटलसँग समन्वय गरेको छ ।
तर, होटल खर्च प्रतिनिधिले आफैँ बेहोर्नुपर्नेछ । विदेशबाट आउने पाहुनाको आवास खर्च भने पार्टीले बेहोर्ने जनाएको छ ।

प्रतिनिधिका लागि बिहान र दिउँसोको खाना पार्टीले उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

महाधिवेशनस्थलमा स्वास्थ्य सेवाका लागि चिकित्सक, नर्स र पारामेडिक्ससहित हेल्थ डेस्क पनि राखिने भएको छ । आकस्मिक अवस्थाका लागि एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिने कांग्रेसले जनाएको छ ।

कांग्रेसको कोशी प्रदेश सचेतक लावती महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेश कांग्रेस संसदीय दलका सचेतक मैयाँ श्रेष्ठ लावती पाँचथरबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन् ।

उनी महिला खुला कोटामा सर्वाधिक मतसहित निर्वाचित भएकी हुन् ।

निर्वाचित उनले १०५० मत प्राप्त गरेकी थिइन् । उनी नेपाली कांग्रेसको पाँचथर प्रदेश सभा ‘ख’ को निवर्तमान सभापति पनि हुन् ।

युवा सांसद लावती पहिलोपटक महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन् ।

यससँगै उनले आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने महाधिवेशनमा प्रतिनिधि बन्दै मताधिकार सुरक्षित गरेकी छन् ।