`

देउवालाई गगनको आग्रह : विशेष महाधिवेशन पार्टीको कार्यक्रम हो, सहभागी हुनुस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवालाई पुनः आग्रह गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव पेश गर्ने क्रममा उनले विधान सम्मत ढंगले आयोजना गरिएको विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्कालगायतका नेताहरुलाई पुनः आग्रह गरेका हुन् ।

उनले कार्यक्रममा सहभागिता जनाउनका लागि देशभरका नेता–कार्यकर्ताहरुले आफूसँग सम्पर्क गरिरहेको भए पनि नेताहरुसँग डराएर आउन नसकेको जिकिर समेत गरे । महामन्त्री थापाले आफूहरुले आयोजना गरेको विशेष महाधिवेशनलाई कसैले पनि अवैधानिक ठहर्‍याउन नसक्ने दाबी समेत गरे ।

उनले भने, ‘हामी बन्द सत्रबाट पनि पार्टीका सभापतिजीलाई, पार्टीका कार्यबहाक सभापतिजीलाई यो पार्टीको कार्यक्रम हो । यो कुनै अलग कार्यक्रम होइन । पार्टीको विधानसम्मत ढंगले भएको यो कार्यक्रम तपाईहरुको सहभागिता अहिले पनि हामीले अनुरोध गरिरहेका छौ । यो भनिरहँदा अहिले थुप्रै साथीहरुले मलाई सम्पर्क गरिराख्नु भएको छ । कोही बाहिर सम्पर्क गरिराख्नु भएको छ । कोही भित्र सम्पर्क गरिराख्नु भएको छ । यहाँ मान्छे पठाएर भनिराख्नु भएको छ । आउन चाहनु भएको छ । तर जिल्लाका नेताहरुसँग डराउनु भएको छ ।’ महामन्त्री थापाले देशलाई आशाको सञ्चार गराउन पनि कांग्रेस जागेर अघि बढ्नुपर्ने बताए ।

देउवा नेतृत्वमाथि प्रश्न, नयाँ सभापति निर्वाचित गर्ने कार्यविधि पारित

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले पार्टी नेतृत्व र भावी राजनीतिक दिशाबारे गहिरो बहसलाई औपचारिक रूप दिएको छ । विशेष महाधिवेशनको कार्यसूचीमा समावेश गरिएको मौजुदा सभापति शेरबहादुर देउवालाई हटाएर नयाँ सभापति तथा केन्द्रीय कार्यसमिति निर्वाचित गर्ने कार्यविधि प्रतिनिधिहरूबाट पारित भएसँगै कांग्रेस राजनीतिमा ठूलो तरङ्ग आएको छ ।

१४ औं महाधिवेशन (२०७८) बाट निर्वाचित केन्द्रीय कार्यसमितिको कार्यकाल समाप्त भइसकेको ठहर गर्दै त्यसलाई बिघटन गर्ने प्रस्ताव पारित भएको हो । कार्यविधि कार्यान्वयनमा गएमा १५औं महाधिवेशन सम्पन्न नहुन्जेलसम्मका लागि नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित हुनेछ । यससँगै विधानअनुसार गठन भएका केन्द्रीय निर्वाचन समिति, अनुशासन समिति र लेखा समितिसमेत विघटन हुनेछन् ।

आफ्नै मतदाताबाट देउवामाथि दबाब
चार वर्षअघि ६० प्रतिशत मतसहित सभापति बनेका देउवा अहिले त्यही बहुमत प्रतिनिधिको विपक्षमा परेका छन् । विशेष महाधिवेशनमा सहभागी ५६.१२ प्रतिशत प्रतिनिधि नीति र नेतृत्व परिवर्तनको एजेण्डासहित उपस्थित भएको दाबी गरिएको छ । देउवाका प्रतिष्पर्धी शेखर कोइराला संस्थापन पक्षमै रहे पनि प्रतिनिधिहरूको असन्तुष्टि नेतृत्व केन्द्रित बनेको देखिन्छ ।

महामन्त्री गगन थापा नेतृत्व परिवर्तनबिना चुनावमा नजाने अडानमा छन् । उनले देउवाकै हस्ताक्षरमा प्रतिनिधिसभा निर्वाचनको टिकट नलिने घोषणा गरिसकेका छन् । उता देउवा भने विशेष महाधिवेशनबाट आउने सम्भावित परिणामबारे निकट नेताहरूसँग निरन्तर परामर्शमा छन् । आइतबार रातिसम्म २ हजार ६ सय ६२ प्रतिनिधि नाम दर्ता भइसकेका छन् । कुल प्रतिनिधि संख्या ४ हजार ७ सय ४३ रहेकामा ६० प्रतिशतभन्दा बढी सहभागिता हुने आयोजकको दाबी छ ।

‘दुई पटकभन्दा बढी प्रधानमन्त्री नबन्ने’ प्रस्ताव
विशेष महाधिवेशनमा महामन्त्री विश्वप्रकाश शर्माले विगतका राजनीतिक अभ्यासमाथि आत्मसमीक्षा गर्दै एक व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव अघि सारेका छन् । पछिल्लो डेढ दशकमा प्रधानमन्त्री फेरिए पनि अनुहार उही रहने प्रवृत्तिले जनअसन्तुष्टि र नेतृत्वको अलोकप्रियता बढाएको उनको तर्क छ ।

उनले यो नीतिलाई संविधानमै लिपिबद्ध गर्न कांग्रेसले अग्रसरता लिने उल्लेख गरेका छन् । साथै, विगतका गल्ती सच्याउँदै आगामी निर्वाचनमा कुनै पनि दलसँग चुनावी गठबन्धन नगरी कांग्रेस एक्लै प्रतिस्पर्धा गर्ने प्रस्ताव पनि पेश गरिएको छ । चुनावी गठबन्धनले मतदाताको स्वतन्त्र विवेक र पार्टी कार्यकर्ताको सम्मानमा असर पारेको निष्कर्ष प्रस्तावमा समेटिएको छ ।

जेनजी आन्दोलनप्रति सन्तुलित दृष्टिकोण
महामन्त्री शर्माले जेनजी आन्दोलनका सन्दर्भमा पनि आत्मसमीक्षाको आवश्यकता औंल्याएका छन् । भदौ २३ गते भएको अत्यधिक बल प्रयोगबाट युवाहरूको ज्यान गएको घटनालाई गम्भीर अपराध भन्दै निष्पक्ष छानबिन र कारबाही हुनुपर्ने उनले दोहो¥याए। साथै भदौ २४ गते भएको आगजनी र ध्वंसका घटनालाई पनि बेवास्ता गर्न नहुने उल्लेख गर्दै दुवै घटनाको निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताए । उनले ०४२ सालको सत्याग्रह स्थगनको उदाहरण दिँदै, जेनजी आन्दोलनका अगुवाहरूले पनि आफ्नो आह्वान र कर्मअनुसार जिम्मेवारी लिनुपर्ने धारणा राखेका छन् ।

सिद्धान्तमा अडिग, एजेण्डामा लचक
प्रतिवेदनमा कांग्रेसको ऐतिहासिक चरित्रलाई स्मरण गर्दै लोकतान्त्रिक मूल्य–मान्यतामा अटल रहँदै समयअनुसार एजेण्डामा लचकता अपनाउँदै आएको दाबी गरिएको छ । सुशासन, सद्भाव र समुन्नतिलाई आजको नेपालको प्रमुख तीन एजेण्डा ठहर गर्दै विशेष महाधिवेशनले यही आधारमा आगामी राजनीतिक कार्यदिशा तय गर्ने निष्कर्ष निकाल्ने संकेत दिएको छ ।

०६२/६३ को जनआन्दोलन र मधेस आन्दोलनबाट प्राप्त उपलब्धिलाई सुरक्षित राख्दै पछिल्ला असन्तुष्टिको भावनालाई सम्बोधन गर्नुपर्नेमा कांग्रेस नेतृत्व सचेत देखिएको छ । विशेष महाधिवेशन कांग्रेसका लागि केवल संगठनात्मक अभ्यास होइन, नेतृत्व, नीति र राजनीतिक संस्कृतिमा ‘रीसेट’ गर्ने प्रयासको रूपमा उभिएको छ । देउवा नेतृत्वको भविष्य, नयाँ नेतृत्व चयन र पार्टीको चुनावी रणनीतिले कांग्रेसको आगामी राजनीतिक यात्रा कुन मोड लिन्छ भन्ने कुरा अब यही विशेष महाधिवेशनका निर्णयले निर्धारण गर्नेछ ।

 

 

 

महामन्त्री विश्‍वप्रकाश शर्माकाे राजनीतिक प्रस्तावमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेस गरेका छन् ।

उनले पेस गरेकाे ‘बदलिएको देश/बदल्नुपर्ने कांग्रेस, सदभाव, सुशासन र सम्मुनतिको नवीन यात्रा’ नाम दिएको राजनीतिक प्रस्तावमाथि छलफल हुन बाँकी छ ।

राजनीतिक प्रस्तावमा जेन–जी विद्रोहअघि र त्यसपछि बदलिएको राजनीतिक परिस्थितिको विश्लेषण गर्दै सुशासन र भ्रष्टाचारमुक्त देश बनाउने संकल्प गरिएको छ ।

जनताको जीवन परिवर्तनमा तीन तहको सरकारले गर्नुपर्ने अभिभारा र कांग्रेस नेता कार्यकर्तादेखिले पालना गर्नुपर्ने कार्यभार पनि समेटिएको छ ।

अब कांग्रेसको सभापति शेखर कोइराला हो, विशेष महाधिवेशनबाट नीति मात्रै पारित हुन्छ : सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नीति मात्रै पारित हुने दाबी गरेका छन् । सोमवार काठमाडौंमा डा. शेखर कोइराला पक्षधरहरुको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । आइतबारबाट नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन अहिले भृकुटीमण्डपमा जारी छ । तर संस्थापन पक्षसहितका शीर्ष नेताहरु महाधिवेशनमा सहभागी छैनन् ।

यता डा. कोइराला पक्षधर नेताहरुले भने छुट्टै भेला गरेका छन् । उनीहरुले पार्टी फुट्न दिन नहुने भन्दै कोइरालालाई पहल गर्न आग्रह गरेका छन् । सञ्चारकर्मीहरुसँगको कुराकानीमा शर्माले पार्टी नफुटोस् भन्ने सबैको चाहना रहेको बताए । शेखर कोइरालाले आत्मसमर्पण गरे भन्ने भ्रम फैल्याइएको भन्दै पार्टी फुट्न नदिन दुवै पक्षका नेताहरुसँग आफूले पहल गर्ने कोइरालाले बताएको जानकारी दिए । नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने माग शेखर कोइराला पक्षको रहेकाले आफूहरुको माग हाइज्याक भएको बताए ।

उनले भने, ‘पार्टी नफुटोस् भन्ने नै हो । पार्टी फुटको संघारमा रहेकाले त्यो नफुटोस् भन्ने नै हो । शेखर कोइरालाले आत्मसमर्पण गरे भन्ने ढंगले बाहिर लगिएको छ । पार्टी नफुट्ने लाइनमा सबैलाई आग्रह गर्ने कुरा भएको छ । एउटा समाधान निकालेर पार्टी फुट्न नदिन आग्रह गर्ने कुरा भएको छ । हामी पार्टी फुट्न दिनु हुँदैन भन्ने लाइनमा छौँ । नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने एजेण्डा हाम्रै हो । बीचमा हाइज्याक भएको हो । समयमा अधिवेशन हुनुपर्छ भनेर हाम्रो टिमले भन्दै आएको हो । अधिवेशनको एजेण्डा त हाम्रै हो नि ।’ उनले डा. शेखर कोइराला कांग्रेसको सभापति बन्ने तर विशेष महाधिवेशनबाट नीति मात्रै पास हुने दाबी गरे । वैशाख वा असारमा हुने नियमित महाधिवेशनबाट कोइराला कांग्रेसको सभापति बन्ने बताए ।

 

कांग्रेस र देश सुधार्ने १८ उपाय

१. चुनाव हुने, नयाँ सरकार बन्ने तर प्रधानमन्त्री पुरानै हुने, डेढ दशक यता हामीले निरन्तर यो अभ्यास गर्दै आयौं । यसले एकातर्फ नागरिकमा असन्तुष्टि बढायो, नेतृत्वलाई अलोकप्रिय बनायो, अर्कातर्फ सार्थक परिणाम पनि दिन सकेन ।

(बिगतको गल्ती सच्याउँदै यो बिशेष महाधिवेशन उद्घोष गर्दछ– नेपाली काँग्रेसको तर्फबाट भविष्यमा कोही पनि दुइपटक भन्दा बढी प्रधानमन्त्री बन्ने छैनन् । दुई पटक मात्रै प्रधानमन्त्रीको यो नीतिलाई नेपालको संविधानमा लिपिबद्द गर्न नेपाली काँग्रेसले अग्रसरता लिनेछ।)

२) बितेको तीन दशकमा सरकार पटकपटक अस्थिर हुँदा हामीले नीतिगत स्थिरताका लागि सार्थक पहल र सुनिश्चितता गर्न नसक्नु हाम्रो सामान्य गल्ती थिएन । जलविद्युत होस् या कृषि, भौतिक विकास होस् या निजिक्षेत्रलाई गर्ने ब्यवहार, जबजब सरकार बदलियो, त्यसले सबै क्षेत्रलाई असर गर्‍यो ।

(विगतको गल्ती सच्याउँदै यो विशेष महाधिवेशन संकल्प गर्दछ– देशलाई नीतिगत सुनिश्चितताका साथ अग्रगतिमा लग्न पहल र नेतृत्व गर्नेछौं।)

३) चुनावी गठबन्धन नेपाली राजनीतिमा मतदाताको स्वतन्त्र विवेक एवं पार्टी सदस्यको सम्मानलाई असर पु¥याएको एक अध्याय थियो । यही आत्मसमिक्षा साथ गोदावरीमा सम्पन्न पछिल्लो महासमिति बैठकले आगामी चुनावमा एक्लै प्रतिष्पर्धा गर्ने निर्णय गरेको थियो ।

(बिगतको गल्ती सच्याउँदै महासमितिको त्यो निर्णय स्मरण गर्दै यो बिशेष महाधिवेशन आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गर्दछ ।)

४) राष्ट्रको बजेट निर्माण गर्दा कतिपय प्रभावशाली नेताहरूको निर्वाचन क्षेत्रमा बढी बजेट खन्याइने र कतिपय क्षेत्रमा भने सांसदको प्रभाव नपुग्दा तुलनात्मक रुपले न्यून बजेट परेको गुनासो संसदमा पटकपटक सुनिएका छन् । नागरिकमा निरंतरता असन्तोष जन्माउने यो प्रवृत्ति देशको ढुकुटीप्रतिको खेलबाड पनि हो ।

(यो विशेष महाधिवेशन यस्तो प्रवृत्ति सम्पुर्ण नियन्त्रण गर्ने संकल्प गर्दै समन्यायिक विकासको अवधारणा मर्यादित ढंगले अवलम्बन गर्ने निर्णय गर्दछ।)

५) बितेका केही दशकमा विकासका कतिपय परियोजना लहडका भरमा अघि बढाइएको देखिन्छ । प्राविधिक रूपमा सम्भाव्य छ भनेर हेरिरहँदा, आर्थिक रूपमा टिकाउ छ कि छैन भनेर गम्भीर परीक्षण नगरिँदा देश ऋणको पासोमा पर्ने खतरा रहन्छ ।

(बिगतका यस्ता गम्भीर गल्ती केलाउँदै लहडका परियोजना नबढाउने, कुनै पनि महत्वपूर्ण प्रस्तावलाई विज्ञ दृिष्टको संलग्नताबाट भायबल रहे–नरहेको परिक्षण र आवश्यकता पर्दा संसदीय छलफलबाट मात्रै अघि बढाउने निर्णय यो बिशेष महाधिवेशन गर्दछ।)

६) पुँजीगत बजेट खर्चको क्षमता सबल ढंगले बढ्न नसकेको अवस्थालाई संतोषजनक सुधार गर्न नसक्नु हाम्रो शासकीय गल्ती प्रमाणित भएको छ ।

(भौतिक पूर्वाधार निर्माण कार्य ३ सिफ्टमा गर्न आवश्यक कानुनी एवं व्यवहारिक बन्दोबस्त मिलाउन पहल गर्ने,असारे विकास रोक्ने र विकासका कार्यमा तीन तहका सरकारबीच काम बाँडफाँडको सन्तुलन मिलाउने संकल्प र प्रतिबद्धता यो बिशेष महाधिवेशन गर्दछ।)

७) गैह्र आवासीय नेपाली नागरिकले देशको विकासमा योगदान गर्न अपेक्षा गरेको नागरिकता, मतदानको अधिकार र लगानी सहजीकरणको विषयलाई उपयुक्त सम्बोधन गर्न विगतमा कमजोरी, गल्ती र ढिलाइ भएको छ ।

(यो आत्मसाथ गर्दै संविधानको भावना र सम्मानित सर्वोच्च अदालतको आदेश बमोजिमको बन्दोबस्त मिलाउन सहजीकरण, दबाब र नेतृत्वको भूमिका निभाउने संकल्प यो बिशेष महाधिवेशन गर्दछ।)

८) बुढीगण्डकी परियोजना निर्माणका लागि रेडि टु टेक अफ स्थितिमा छ । फेवातालभन्दा १५ गुणा ठूलो ताल बन्ने, १२ सय मेगावाटको बिधुत उत्पादन हुने, नेप्लिज फल्स निर्माण गरेर पर्यटनलाई बल पुग्ने, बगेको पानी चितवनमा संकलन गरेर मधेसको पिउने पानी, सिंचाइ र सुख्खा समस्या हल हुने यस्तो परियोजना निर्माण शुरु गरेर नागरिकमा आशा जगाउन ढिलाइ गर्नु हाम्रो गल्ती थियो । सुशासनको अभाव र हाम्रो शासकीय कमजोरीले यसको लगानी सुनिस्चितता हुन नसकेको निर्विवाद छ ।

(विशेष महाधिवेशन सरकार, डायस्पोरामा रहेका गैह्र आवासीय नेपाली अनि निजिक्षेत्र (GDPP model) गांसेर यो परियोजनामा अघि बढाउन आगामी सरकार र संसदलाई अपील गर्दछ ।)

९) विभिन्न राजनैतिक नियुक्ति गरिँदा बिषयगत योग्यता मापनमा चुक्ने अनि व्यक्तिको नैतिक पृष्ठभुमि परिक्षणमा सतर्कता नराख्ने कार्य विगतमा पटकपटक भएको छ । त्यसले,संस्थाको गरिमा र डेलिभरी क्षमता दुवैमा आघात पुर्‍याएको छ ।

(इमानदारी, नैतिकता र चरित्रको मापन गर्ने Integrity Vetting System अनुरुप ट्र्याक रेकर्ड हेरेर मात्रै चयन गर्ने पद्धति बसाउने निर्णय यो बिशेष महाधिवेशन गर्दछ ।)

१०) विश्वविद्यालयको उपकुलपति, रेक्टर या रजिस्ट्रार जस्तो जिम्मेवार नेतृत्वको चयन राजनैतिक भागबन्डाका आधारमा गरिए । संवैधानिक नियुक्तिमा समेत भागबन्डाको दुःखद खबर देशले सुन्नुपर्‍यो । देशको प्रतिनिधित्व गरेर राजदुतको जिम्मेवारी सम्हाल्न कुटनैतिक ज्ञान र समन्वय दक्षता भएका सुयोग्य व्यक्तित्व कयौं हुँदाहुँदै भागबन्डाको प्रवृत्ति यसमा पनि प्रवेश भयो । यो सर्वथा गल्ती थियो ।

(विगतका यस्ता गम्भीर गल्ती सच्याउँदै विशिष्ट नेतृत्व चयनमा बिशिस्ट योग्यता मापन गर्ने मर्यादित मापदण्डको विकास हामी गर्नेछौं।)

११) शिक्षा विधेयक ल्याउन ढिलाइ गरिएको गल्तीले समग्रमा शैक्षिक क्षेत्रमा मनोबैज्ञानिक असर र ब्यवहारिक चुनौती बढेको छ । विधेयक माग गरेर आन्दोलन गर्नुपर्ने अवस्था आउनु हामी सबैको गल्ती थियो ।

(आगामी संसदको पहिलो सेसनबाट नै शिक्षा विधेयकलाई शिक्षक महासंघ र अन्य सरोकारवालाहरुसँगको सम्झौताको जगमा पारित गर्नेगरी पहलकदमी गर्ने निर्णय यो बिशेष महाधिवेशन गर्दछ।)

१२) शैक्षिक स्थलमा बाहुबल प्रयोगको गलत प्रवृत्ति बितेको दशकमा बढेर गएको छ । बिपि कोइराला भन्नुहुन्थ्यो शैक्षिक स्थल बाहुबलको प्रयोग गर्ने थलो होइन । यो मान्यता बलियो रुपमा स्थापित गर्न सकिएको छैन कतिपय शैक्षिक प्रतिस्ठानहरुमा बेलाबखत बाहुबली प्रवृत्ति प्रकट भएको छ ।

(यो विसंगति कडाका साथ सच्याउन सबैलाई अपीलगर्दै पार्टी निकटका कुनैपनी विद्यार्थीले कहिँ पनि त्यस्तो दुव्र्यवहारको अराजक गतिविधि गरे तत्कालै सदस्यताबाट मुक्त हुने प्रक्रिया तय गर्ने उद्घोष बिशेष महाधिवेशन गर्दछ ।)

१३) राजनीतिमा स्वच्छ ट्र्याक रेकर्ड रहेका व्यक्तिहरुलाई प्रोत्साहित र प्रबल बनाउँदा त्यसले समग्र राजनीतिको छविलाई बल पुग्ने हुन्छ । तर सामाजिक विसंगतिमा सरिक रहेकाले पनि राजनीतिका विभिन्न जिम्मेवारी सम्हालेका विवरण यदाकदा सार्वजनिक भएका छन् ।

(काँग्रेसको कोहिपनी सदस्य जातीय विभेद, घरेलु हिंसा, बाल श्रम लगायतका सामाजिक विसंगतिमा संलग्न प्रमाणित हुनासाथ निजको पार्टी सदस्यता नरहने प्रावधान कडाइका साथ कार्यान्वयन गर्ने निर्णय बिशेष महाधिवेशन गर्दछ) ।

१४) नागरिक पंक्तिमा सदैव रहिआएको एक असन्तुष्टि छ, सरकारी प्रशासनका कतिपय कार्यालयमा सेवा लिन जाँदा जहिल्यै पनि यो या त्यो झन्झट ब्यहोर्नुपर्ने हुन्छ । त्यस्तो झन्झट ब्यहोर्नुपर्दा त्यो सेवाग्राहीले निरन्तर दल या सरकारसँग असन्तुष्टि राख्दै आयो, अत त्यसलाई अविलम्ब हलमा पु¥याउनुपर्छ भन्ने गम्भीर पहलकदमी हामीबाट हुनसकेन । यो हाम्रो गल्ती थियो ।

(प्रशासनिक ढिलासुस्ती अन्त्य गर्न आवश्यक ब्यवहारिक बन्दोबस्त मिलाउने दृष्टि र यो जना तर्जुमा गरेर त्यसलाई उत्प्रेरणा साथ कार्यान्वयनमा लग्ने संकल्प यो विशेष महाधिवेशन गर्दछ।)

१५) श्रमिक क्षेत्रले न्युनतम ज्याला पाउन पनि संघर्ष गर्नुपर्ने स्थिति रहिआयो । अनौपचारिक क्षेत्रका श्रमिक योगदानमा आधारित सुरक्षाको दायरा बाहिरै रहे । अनिश्चित श्रम र अनिश्चित जिन्दगीको तिनको यात्रा निरन्तर कष्टकर रह्यो । यस्तो स्थितिको समुल समाधान नपहिल्याउनु हाम्रो गल्ती थियो ।

(विशेष महाधिवेशन संकल्प गर्दछ– श्रमिक आवद्ध संस्थाहरुको साझा दृस्टी गाँस्दै नेपाल ट्रेड युनियन काँग्रेससँगको सहकार्यमा नेपाली काँग्रेसले यसको हलका लागि पहल, नेतृत्व र निरुपण गर्ने/गराउनेछ।)

१६) जनप्रतिनिधित्वमा नातावाद झल्किएको खासगरी एकाघरका सदस्य (मुलत: श्रीमान/श्रीमती) एकैपटक एउटै तहको जनप्रतिनिधि बनेको विषय नागरिक पंक्तिमा आलोचित र अलोकप्रिय बनेको थियो ।

(गोदावरी महासमितिले बैठकबाट पारित राजनैतिक दस्तावेजमा उल्लेखित सन्दर्भ स्मरण गर्दै यो बिशेष महाधिवेशन त्यसलाई कडाइका साथ अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।)

१७) पार्टी भित्रको आन्तरिक सुशासनमा प्राय प्रश्न उठ्ने गरेको बिषय हो: पार्टीका उम्मेदवारहरु चयनमा रहेको परम्परागत प्रणाली । हामीले उम्मेदवार चयनका लागि लोकप्रियता, योग्यता र न्यायको मिश्रण सहितको नयाँ पद्धति विकास गर्न सकेका छैनौं ।

(प्राइमरी निर्वाचनमा पाइलट प्रोजेक्ट हुँदै क्रमशः पुग्ने गोदावरी महासमितिबाट पारित यो जनालाई कार्यान्वयनमा लग्ने प्रतिबद्धता गर्दछ यो बिशेष महाधिवेशन।)

१८) पार्टीको केन्द्रदेखि वडा–टोलसम्मका पदाधिकारी या सदस्य एवं पार्टीका तर्फबाट विभिन्न तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको कार्यशैलीले सुशासनलाई कत्तिको बढावा दिएको छ या असर पु¥याएको छ, त्यसको अनुगमन गर्ने पद्धतिको विकास नगर्नु विगतको हाम्रो गल्ती मध्ये एक थियो ।

(सो प्रयोजनका लागि आन्तरिक सुशासन आयोग गठन गर्ने निर्णय यो बिशेष महाधिवेशन गर्दछ । आयोगको कार्यविधि केन्द्रीय कार्यालयले निर्धारण गर्नेछ।)

(नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनको बन्दसत्रमा पेश गरेको प्रस्तावबाट ।)

आफू विष पिएर भए पनि पार्टी विभाजन हुन दिन्नँ : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूले विष पिएर भए पनि पार्टी विभाजन हुन नदिने बताएका छन् । सोमवार आफू पक्षका नेताहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो प्रतिवद्धता जनाएका हुन् । उनले आफूले पार्टी जोगाउन कोशिस गरिरहेको र पार्टी जोगाएरै छोड्ने बताए । उनले पार्टी फुट्छ की भन्ने चिन्ता नगर्न पनि आग्रह गरे । सबैसँग समन्वय गरेर मिलाएर अघि बढाउने उनको प्रतिवद्धता छ ।

उनले भने, ‘पार्टी जोगाउन कोशिस गर्दैछु । पार्टी जोगिन्छ । त्यो चिन्ता नगर्नुस् । मेरो एउटै चिन्ता पार्टी फुट्न हुँदैन र म फुट्न दिन्नँ । समन्वय गरिकन मिलाएर लगिन्छ, एकढिक्का बनाएर लैजान्छु ।’ आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, वरिष्ठ अधिवक्ताहरूसँग छलफलमा आफू विष पिएरै भए पनि पार्टीभित्रको एकता कायम गरिछाड्ने अन्तिम प्रयासमा जुटिरहेको बताएका हुन् ।

पार्टीलाई फुटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी दिए । उनले भने, ‘म पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरूसँग पार्टी कुनै पनि हालतमा फुट्न दिनु हुन्न भनेर कुरा गरिहरेको छु। तपाईंहरू ढुक्क हुनुस्, पार्टी फुट्दैन । तपाईंहरू पनि त्यसैमा लाग्नुस् । निराश हुने कामै छैन ।’ उक्त छलफलमा कानुन व्यवसायीहरूले नेपाली कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्य समितिलाई मात्र भएको बताए । अहिले महामन्त्रीहरूले बोलाएको विशेष महाधिवेशन वैध पनि नभएको र नेतृत्व परिवर्तन गर्न नमिल्ने बताए ।

उक्त छलफलमा सबै नेता तथा कार्यकर्ताहरूले पार्टीलाई फूटबाट जोगाउन डा. शेखर कोइरालाले दुवै पक्षसँग सहजीकरण गरी पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेको थिए । छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू बल ब. केसी, मिनेन्द्र रिजाल, वरिष्ठ अधिवक्ताहरू–शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
यता, महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले भने विशेष महाधिवेशन शुरु गरिसकेका छन् । सोमवारबाट बन्द सत्रको कार्यक्रम पनि चालु छ । यद्यपि संस्थापन पक्षले यसबारे कुनै चासो देखाएको छैन ।

 

पार्टी विभाजन हुन नदिन लागिपरेका छौं : दिलेन्द्रप्रसाद बडू

काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टी विभाजन हुन नदिन आफूहरु लागिपर्ने बताएका छन् । सोमवार बिहान नेता डा. शेखर कोइराला पक्षधरहरुको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टी विभाजन हुन लाग्यो र कसरी जोगाउने भन्ने चिन्ता सबैलाई रहेको बताए । महामन्त्री र संस्थापन पक्षधरहरुसँग छलफल गरेर आफूहरु अघि बढ्ने निर्णयमा पुगेको पनि जानकारी दिए । पार्टीमा हुनुपर्ने सुधार र पुस्तान्तरणबारे पनि आफूहरुले मुद्दा उठाउँदै आएको बताए । अब पार्टीलाई सुरक्षित राख्न र विवादरहित ढंगले अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

उनले भने, ‘हामी सबैको चिन्ता पार्टी विभाजन नहोस् भन्ने हो । हाम्रो कामले पार्टी विभाजित नहोस् भन्ने हो । महामन्त्रीहरुसँग पनि छलफल गरेर अघि बढ्न सुझाव दिएका हौँ । संस्थापन पक्षलाई पनि र महामन्त्री पक्षधरलाई पनि विभाजनको पक्षमा नजाऔँ भनेका छौँ । पार्टीमा हुनुपर्ने सुधार र पुस्तान्तरणको कुरामा जानुपर्छ भनेर सुझाव दिएका छौँ । अब पार्टीलाई सुरक्षित राख्न र विवादरहित ढंगले अघि बढ्नुपर्ने हुन्छ । शेखर कोईरालाले म दुवै पक्षलाई बोलाएर कुरा गर्छु भन्नु भएको छ । पार्टीलाई विभाजनको जोखिमबाट बचाऔँ ।’ उनले पार्टीलाई विभाजनको जोखिमबाट बचाउन डा. कोइरालाले दुवै पक्षका नेताहरुसँग संवाद गर्ने पनि बताए ।

बलिया ओलीविरुद्ध धावा बोल्न लालायित बालेन–रञ्‍जित

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा– ५ बाट ६ पटक निर्वाचित भएर संसद् आए । तीनपटक प्रधानमन्त्री भए ।

उनको चुनाव क्षेत्रमा एमालेको बलियो संगठन शक्ति छ । त्यसको बलमा ओलीको संसद् यात्रा सम्भव भइरहेको छ ।

तर, उनलाई यसपटक जसरी पनि पराजित गरेर संसद् आउन रोक्ने चर्चा सुनिन्छ । खासगरी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले ओलीसँग चुनावी टक्करमा उत्रिनेबारे छलफल गरिरहेका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता रञ्‍जित तामाङ त चुनावी अभियानमा जुटिसकेका छन् । उनलाई झापा–५ बाट चुनाव लडाउने टुंगो नेकपाले गरिसकेको छ ।

अघिल्लो साता रञ्‍जितले ओलीलाई पराजित गर्न बालेनसँग सहकार्य गर्ने भन्दै स्टाटस लेखेका थिए । जतिबेला बालेन झापा–५ को वस्तुस्थितिबारे सूक्ष्म रूपमा जानकारी लिँदै थिए ।

यस्तोमा रास्वपा झापाका सभापति प्रकाश पाठकको टिमसँग उनले आइतबार संवाद गरे ।

पाठकका अनुसार बालेन झापा–५ बाट निर्वाचन लड्न राजी भएका छन् । उनले भने, ‘यसपटक झापा–५ मा निर्वाचन लड्न हामीले भन्यौँ । उहाँ सकारात्मक हुनुभएको छ ।’

बालेन रास्वपाका वरिष्ठ नेता हुन् । जेन–जी विद्रोहमा उनको भूमिकालाई लिएर आलोचकहरू ‘लुसिफर’सँग तुलना गर्छन् । लुसिफर सैतानी पात्र हुन् । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन शीतलनिवासलगायत सार्वजनिक संस्थामा आगजनी गरेको घटनामा उनलाई जोडेर लुसिफर भनिएको हो ।

जेन–जी विद्रोहपछि उनको लोकप्रियतामा ह्रास आएको छ । उनै बालेनलाई झापा–५ मा ओलीसँग प्रतिस्पर्धा गराउन रास्वपाले चाहेको छ ।

त्यसका लागि रास्वपा प्रवक्ता मनिष झा, पूर्वसांसद निशा डाँगी, प्रमोद न्यौपाने, राजीव खत्रीलगायत यसअघि नै त्यहाँ पुगेर पार्टी समितिसँग छलफल गरेका थिए ।

तर, ओली बलिया प्रतिस्पर्धी हुन् । झापा– ५ कांग्रेसले एकपटक पनि जित्‍न नसकेको क्षेत्र हो । राप्रपाले पनि कहिल्यै जित्‍न सकेन

त्यहाँ एमालेको बलियो संगठन छ । संगठन शक्तिको बलमा ओली त्यहाँबाट निर्वाचन जित्छन् । ओली प्रतिनिधिसभा निर्वाचन २०४८, मध्यावधि निर्वाचन २०५१, प्रतिनिधिभा निर्वाचन २०५६, २०७४ र २०७९ मा निर्वाचित भए । दोस्रो संविधानसभा निर्वाचन २०७० मा पनि ओली त्यहीँबाट निर्वाचित भए ।

२०६४ को संविधानसभा निर्वाचनमा भने तत्कालीन नेकपा माओवादीका उम्मेदवार विश्‍वद्धिप लिङ्देनसँग ओलीको पराजय भयो । लिङ्देन हाल कांग्रेसमा आबद्ध छन् । लिङ्देनबाहेकले ओलीलाई हराउन सकेको छैन ।

तीनपटक प्रधानमन्त्री भएका ओलीले आफ्नो निर्वाचन क्षेत्रमा अर्बौँ बजेट खन्याएका छन् । व्यापारिक केन्द्र बनाउनेगरी उनले दमक भ्यू टावर बनाएका छन् ।

बन्द सत्रमा विश्वप्रकाशको प्रस्ताव : बदलिएको समयअनुसार कांग्रेस पुनर्निर्माण अपरिहार्य

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत सोमबार भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको छ । बन्द सत्रले विशेष महाधिवेशनको कार्यविधि पारित गरेसँगै पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले ‘बदलिएको देश, बदल्नुपर्ने कांग्रेस’ शीर्षकमा सांगठनिक प्रतिवेदन तथा प्रस्ताव प्रस्तुत गरेका छन् ।

बन्द सत्रको अध्यक्षता श्यामकुमार खड्काले गरेका थिए । प्रस्ताव पेश गर्दै महामन्त्री शर्माले नेपाली समाज, राजनीति र जनअपेक्षामा आएको परिवर्तनलाई आत्मसात् नगरी कांग्रेस अघि बढ्न नसक्ने स्पष्ट सन्देश दिएका छन् । उनले कांग्रेसको भावी यात्रालाई ‘सद्भाव, सुशासन र समुन्नतिको नवीन यात्रा’ का रूपमा परिभाषित गर्दै पार्टीभित्र आत्मविश्वास र समाजमा विश्वास दुवै पुनःस्थापित गर्नुपर्नेमा जोड दिए । प्रस्ताव प्रस्तुत गर्ने क्रममा शर्माले भने, ‘यसले एकातर्फ पार्टीभित्र नवीन आत्मविश्वास भर्नेछ भने अर्कातर्फ समाजमा नवीन विश्वास जागृत गर्ने सकारात्मक सन्देश प्रवाह गर्नेछ । विश्वास र आत्मविश्वासको यही अठोट र अभियान आजको हाम्रो प्रधान कार्यभार हो ।’

उनले बदलिँदो समय, प्रविधि, चेतना र जनताको अपेक्षासँग कांग्रेसको संगठन, कार्यशैली र राजनीतिक व्यवहार अझै सुदृढ र आधुनिक बनाउनुपर्ने धारणा राखेका छन् । प्रस्तावमा पार्टीको सांगठनिक संरचना, कार्यकर्ता व्यवस्थापन, नेतृत्व विकास र जनतासँगको सम्बन्धलाई नयाँ ढंगले पुनर्संरचना गर्नुपर्ने विषय समेटिएको छ । प्रस्तावको अन्त्यतिर महामन्त्री शर्माले आत्मालोचनासहित कांग्रेस रूपान्तरणको संकल्प व्यक्त गरेका छन् ।

उनले भने, ‘हामी जान्दछौँ, जो बदलिन सक्छ, उसैले बदल्न सक्छ । कुनै समय कांग्रेसले देशको समयलाई आफूअनुकूल बदलेको थियो, आज बदलिएको समयअनुकूल कांग्रेसले आफूलाई बदल्नु छ ।’ उनले कांग्रेसलाई ‘रिबिल्डिङ’ र ‘रिब्रान्डिङ’ गर्ने स्पष्ट लक्ष्य अघि सार्दै संगठनलाई जनमुखी, परिणाममुखी र भरोसायोग्य बनाउने प्रतिबद्धता व्यक्त गरे । विशेष महाधिवेशनको बन्दसत्रमा पेश गरिएको यस सांगठनिक प्रतिवेदन र प्रस्तावमाथि आगामी दिनमा प्रतिनिधिहरूबीच छलफल हुने र त्यसकै आधारमा कांग्रेसको आगामी राजनीतिक तथा सांगठनिक दिशा तय हुने नेताहरूले बताएका छन् ।

 

 

बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु्

बैतडी । जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साँडीघाँटीमा आज बिहान जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जीप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको हो । दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्युु भएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

मृतक तीनै जना पुरूष रहेका र सनाखत हुन नसकेको उनले बताए । उनले भने, ‘दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्युु भएको खबर छ, सनाखत हुन सकेको छैन ।’ जीपमा कति जना सवार रहेका थिए भन्ने समेत खुल्न सकेको छैन । अन्य सबै घाइते रहेको बुझिएको छ । घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । रासस

विशेष महाधिवेशनको बन्द सत्र सुरु, नयाँ नेतृत्व चयन गर्न सक्ने

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्द सत्र भृकुटीमण्डपमा सुरु भएको छ । बन्द सत्रको अध्यक्षता पार्टीका वरिष्ठ नेता ८८ वर्षीय श्यामकुमार खड्काले गरेका छन् भने सत्रको सञ्चालन कास्की सभापति किशोरदत्त बरालले गर्दैछन्। प्रचारप्रसार समिति संयोजक सुभास पोखरेलका अनुसार बन्द सत्रमा पार्टीको नीतिगत तथा संगठनात्मक प्रतिवेदन पेस गरिने छ ।

प्रतिवेदनमा समसामयिक राजनीतिक अवस्थाको समीक्षा, पार्टी विधानको परिमार्जन, संगठनात्मक संरचनामा सुधारलगायत विषय समेटिएका छन् । ती विषयमा गहन छलफल गर्न प्रतिनिधिहरूलाई ९ वटा समूहमा विभाजन गरिएको छ । यसैबीच, विशेष महाधिवेशनको कार्यविधि पनि बन्दसत्रले ध्वनि मतबाट पारित गरेको छ । ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२’ पारित भएसँगै महाधिवेशनका आगामी कार्यक्रम औपचारिक रूपमा अघि बढ्ने भएका छन् ।

कार्यविधिको प्रस्तावनामा पार्टी विधान २०१७ (संशोधनसहित) को धारा १७ को उपधारा (२) अनुसार विशेष केन्द्रीय महाधिवेशन बोलाइएको उल्लेख छ। साथै, विधानको धारा १५ बमोजिम सर्वोच्च अधिकार सम्पन्न निकायको हैसियतमा महाधिवेशनले आफ्नो कामकारबाहीलाई व्यवस्थित गर्न कार्यविधि निर्माण गरिएको स्पष्ट गरिएको छ ।

पारित कार्यविधिमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति विघटनदेखि नयाँ नेतृत्व चयनसम्मको प्रक्रिया समावेश छ । त्यस्तै, विशेष केन्द्रीय महाधिवेशन सञ्चालनसम्बन्धी व्यवस्था, बन्द सत्रमा पेस हुने प्रस्तावहरू, ती प्रस्तावमाथि निर्णय गर्ने प्रक्रिया, प्रतिवेदनका विषय, गणपूरक संख्या तथा निर्वाचन समिति गठनसम्बन्धी प्रावधान पनि कार्यविधिमा उल्लेख छन् । महामन्त्री गगन थापाको नेतृत्वमा प्रतिनिधिहरूको मागअनुसार विशेष महाधिवेशन बोलाइएको कांग्रेसले जनाएको छ । महाधिवेशनमा २ हजार ६ सयभन्दा बढी प्रतिनिधिले नाम दर्ता गराएको दाबी गरिएको छ । विशेष महाधिवेशनमार्फत पार्टीको नीति, संगठन र नेतृत्वसम्बन्धी महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ ।

 

 

‘दास’ को आरोपमा एमालेको प्रतिवाद : हामी आजका स्पार्टाकस हौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्तिलाई लिएर नेकपा एमालेका महासचिव शंकर पोखरेलले तीखो राजनीतिक प्रतिवाद गरेका छन् । कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहमा थापाले एमालेतर्फ संकेत गर्दै कांग्रेस ‘दास र लाशहरूको पार्टी होइन’ भनेर दिएको अभिव्यक्तिलाई पोखरेलले सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका हुन् ।

काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनमा थापाले कांग्रेस कुनै पनि नेताले ‘नबोल’ भन्दा नबोल्ने दासहरूको पार्टी नभएको र प्रश्न उठाउने जीवित मानिसहरूको पार्टी भएको दाबी गरेका थिए । यही भनाइलाई लक्षित गर्दै एमाले महासचिव पोखरेलले देश गम्भीर संकटको अवस्थामा रहेको बेला उत्सव मनाउन नसक्नेहरूलाई कसैले ‘दास’ ठान्न सक्ने भए पनि ती नै समयका स्पार्टाकस हुन सक्ने बताएका छन् ।

फेसबुकमा लेख्दै पोखरेलले देश, संविधान र लोकतन्त्रको भविष्य संकटमा परेको घडीमा उत्सव र आत्मसन्तुष्टिको राजनीति गर्न नसक्नु कमजोरी नभई जिम्मेवारी भएको जिकिर गरेका छन् । जन–जनको हृदय जलिरहेको बेला राजनीतिक उत्सव मनाउने मानसिकता नै प्रश्नको घेरामा पर्नुपर्ने उनको संकेत छ । विध्वंस, अराजकता र आतंकका सामु झुक्नु कायरता भएको र त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु नै साहस भएको उनको भनाइ छ ।

पोखरेलले भूराजनीतिक स्वार्थका सामु लम्पसार पर्नुलाई दासता र त्यसका विरुद्ध आवाज उठाउनुलाई स्वाभिमानको प्रतीकका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार तथाकथित ‘दास’ भनिएका शक्तिहरू नै स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर नयाँ युगको आधार निर्माण गर्ने स्पार्टाकस बन्न सक्छन् ।

उनले प्रयोग गरेको ‘स्पार्टाकस’ शब्द आफैंमा गहिरो राजनीतिक र वैचारिक अर्थ बोकेको छ । प्राचीन रोमन साम्राज्यका दास योद्धा स्पार्टाकसले सन् ईसापूर्व ७३ मा दासहरूलाई संगठित गर्दै शक्तिशाली रोमन शासनविरुद्ध विद्रोहको नेतृत्व गरेका थिए । यद्यपि विद्रोह अन्ततः दमन गरियो, तर उनले साम्राज्यको जग हल्लाइदिएका थिए । यही कारण वामपन्थी राजनीति र साहित्यमा स्पार्टाकसलाई अन्यायपूर्ण व्यवस्था विरुद्धको प्रतिरोध, साहस र वर्ग संघर्षको प्रतीक मानिन्छ ।

कार्ल माक्र्सले स्पार्टाकसलाई सम्पूर्ण प्राचीन इतिहासको सबैभन्दा उत्कृष्ट पात्र र वास्तविक सर्वहारा वर्गको प्रतिनिधि मानेका थिए । पहिलो विश्वयुद्धको समयमा रोजा लक्जेम्बर्ग र कार्ल लिब्कनेख्तले जर्मनीमा स्थापना गरेको ‘स्पार्टाकस लिग’ पनि यही प्रतीकबाट प्रेरित थियो, जसले पछि जर्मन कम्युनिष्ट पार्टीको रूप लियो । वामपन्थी साहित्यमा स्पार्टाकस हार स्वीकार नगर्ने, तर झुक्न नजान्ने पात्रका रूपमा चित्रित छन् ।

यही ऐतिहासिक र वैचारिक पृष्ठभूमिलाई सन्दर्भ बनाउँदै पोखरेलले कांग्रेस महामन्त्रीको आरोपलाई उल्ट्याउँदै एमाले नेतृत्व र कार्यकर्तालाई ‘आजको समयका स्पार्टाकस’ का रूपमा प्रस्तुत गरेका छन् । उनको सन्देश स्पष्ट छ–आरोप र कटाक्षभन्दा माथि उठेर आफूहरू अन्याय, हस्तक्षेप र संकटका विरुद्ध उभिएको शक्तिका रूपमा इतिहासले मूल्यांकन गर्नेछ । यस घटनाक्रमले कांग्रेस र एमालेबीचको राजनीतिक तिक्तता अझ सतहमा आएको देखिएको छ । एक पक्षले आफूलाई ‘जीवित र प्रश्न गर्ने’ पार्टीको रूपमा प्रस्तुत गर्दा अर्को पक्षले आफूलाई ‘झुक्न नजान्ने विद्रोही’ का रूपमा चित्रण गरिरहेको छ, जसले नेपाली राजनीतिक बहसलाई थप वैचारिक र प्रतीकात्मक बनाएको छ ।

 

नेकपाले पञ्चा सिंहलाई बन्दसूचीबाट हटायो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले समानुपातिकतर्फको बन्दसूचीमा परिमार्जन गर्दै ‘खस आर्य महिला’ समूहको क्रमसंख्या ४ मा रहेकी पञ्चा सिंहको नाम हटाएको छ । पौष १४ गते निर्वाचन आयोगमा पेस गरिएको बन्दसूचीमा समावेश पञ्चा सिंहको नाम पार्टीको आन्तरिक जनशक्ति व्यवस्थापन र एकता प्रक्रियामा सहभागी अन्य राजनीतिक घटकको व्यवस्थापन गर्नुपर्ने विशेष परिस्थितिका कारण पौष १८ गते बैठकको निर्णय अनुसार हटाइएको हो ।

पार्टीले परिमार्जित बन्दसूची पुनः निर्वाचन आयोगमा पेस गरेको र यो प्रक्रिया पार्टीकै तर्फबाट आधिकारिक रूपमा सहजीकरण गरिएको पञ्चा सिंहले फेसबुक स्टाटसमार्फत जानकारी दिएकी छन् । उनले राजनीति व्यक्तिगत अवसरको विषय नभई त्याग, निष्ठा र जनसेवाको मार्ग भएको उल्लेख गर्दै पार्टीको बृहत्तर हितका लागि व्यक्तिगत पद गौण हुने बताएकी छन् । साथै आगामी निर्वाचनमा पार्टी र उम्मेदवारलाई जिताउन सबैलाई सक्रिय भूमिका निर्वाह गर्न अपिल गरेकी छन् ।

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं । सुनको मूल्यले हालसम्मकै उच्च पुगेकाे छ । सोमबार सुनको मूल्य ४ हजार १०० रुपैयाँले बढेर २ लाख ७४ हजार ७०० रुपैयाँ  पुगेकाे हाे।

अघिल्लो दिन यस्तो मूल्य २ लाख ७० हजार ६०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य समेत प्रतितोला २९५ रुपैयाँले बढेको छ । आइतबार ४ हजार ९९० रुपैयाँ रहेको चाँदी आज ५ हजार १९५ रुपैयाँ पुगेको हो ।

वैधानिक संकटमा देउवा, विशेष महाधिवेशनले कांग्रेसलाई कुन मोडमा लैजाला ?

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा विरलै देखिने राजनीतिक उथलपुथल भृकुटीमण्डपमा देखिएको छ । चार वर्षअघि १४औं महाधिवेशनमा करिब ६० प्रतिशत मतका साथ शेरबहादुर देउवालाई सभापति बनाएका प्रतिनिधिहरू नै अहिले नेतृत्व परिवर्तनको मागसहित विशेष महाधिवेशनमा उभिएका छन् । यही दृश्यले कांग्रेसभित्र गहिरिँदो वैधानिक, नैतिक र राजनीतिक संकटलाई उजागर गरेको छ ।

विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको संख्या र उत्साहले देउवाको परम्परागत पकड कमजोर बन्दै गएको संकेत गरेको छ । आइतबार रातिसम्म ४,७४३ मध्ये २,६६२ प्रतिनिधि दर्ता भइसकेका छन् । आयोजकहरूका अनुसार सोमबार पुनः नाम दर्ता खुल्दा सहभागिता ६० प्रतिशत नाघ्ने सम्भावना छ । यही संख्यात्मक बलका आधारमा विशेष महाधिवेशन पक्षधरहरूले नेतृत्व र नीति दुवै परिवर्तनको दबाब तीव्र बनाएका छन् ।

पार्टी प्रवक्ता प्रकाशशरण महतले विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै यसमा सभापति वा कार्यवाहक सभापति सहभागी नहुने स्पष्ट पारेका छन् । कार्यसम्पादन समितिले दुई पटकसम्म अवैधानिक घोषणा गरिसकेको कार्यक्रमलाई स्वामित्व लिन नसकिने उनको तर्क छ । तर, पार्टीभित्रै संस्थापन खेमाका कतिपय नेताहरू भने आसन्न निर्वाचनको संघारमा विवाद चर्किदा पार्टीलाई गम्भीर क्षति पुग्ने चेतावनी दिँदै देउवालाई ‘निकास’ खोज्न सुझाव दिइरहेका छन् ।
यही द्वन्द्वका बीच सभापति देउवा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखक र शेखर कोइरालासँग निरन्तर परामर्शमा छन् । तर, एकातिर पद नछाड्न दबाब र अर्कोतिर बहुमत प्रतिनिधिको असन्तुष्टि—यी दुईबीच देउवा दोधारमा परेका देखिन्छन् ।

विशेष महाधिवेशनको उद्घाटन सत्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका आक्रामक तर भावनात्मक सम्बोधनले थप उर्जाशील बन्यो । थापाले २०१४ सालमा सुवर्णशमशेरले बीपी कोइरालालाई नेतृत्व हस्तान्तरण गरेको ऐतिहासिक उदाहरण स्मरण गराउँदै देउवालाई समयमै निर्णय लिन आग्रह गरे ।

‘कहिलेकाहीँ युद्ध जित्न लडाइँ हार्नुपर्छ,’ थापाको भनाइ थियो, ‘कांग्रेस दास र लासहरूको पार्टी होइन, यो जिउँदा मान्छेको पार्टी हो ।’ महामन्त्री शर्माले विशेष महाधिवेशनलाई ‘भीड होइन, कांग्रेस बदल्न आएको जमात’ को संज्ञा दिँदै सुशासन, आत्मालोचना र पुस्तान्तरणको संकल्पसहित अघि बढ्ने घोषणा गरे ।

देउवाका विश्वासपात्र मानिने पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व सभामुख तारानाथ रानाभाटदेखि विभिन्न खेमाका नेताहरूको सहभागिताले असन्तुष्टि केवल युवा पुस्तामा सीमित नभएको स्पष्ट पारेको छ । गोपालमान श्रेष्ठले ‘इतिहासको ब्याजले भविष्य नबन्ने’ टिप्पणी गर्दै देउवालाई हठ त्याग्न आग्रह गरे ।

सोमबार बिहान सुरु हुने बन्दसत्रले कांग्रेसको आगामी बाटो तय गर्नेछ । ज्येष्ठ सदस्यको अध्यक्षतामा महामन्त्रीद्वयको प्रतिवेदनमाथि आठ समूहमा छलफल हुनेछ । नेतृत्व चयन नै मुख्य एजेण्डा भएकाले संस्थापन पक्षको सहभागिता वा अनुपस्थितिले परिणामलाई निर्णायक बनाउनेछ । विशेष महाधिवेशन पक्षधरहरू संस्थापनले स्वामित्व नलिए हलबाटै नयाँ नेतृत्व चयन गर्ने मनस्थितिमा देखिन्छन् ।

अनुशासित, व्यवस्थित र उत्साहपूर्ण देखिएको यो विशेष महाधिवेशनले कांग्रेसभित्र शक्ति सन्तुलन बदलिएको सन्देश दिएको छ । देउवाले समयमै राजनीतिक निकास खोजेर इतिहासमा सम्झौतावादी नेता बन्ने कि प्रतिनिधिहरूको दबाबमा पार्टी विद्रोहको बाटो रोज्ने–यो प्रश्नको उत्तर अब बन्द त्रले दिनेछ । जे होस्, भृकुटीमण्डपमा देखिएको दृश्यले कांग्रेस पुरानै ढाँचामा अघि बढ्न नसक्ने स्पष्ट संकेत गरिसकेको छ ।

नाम फिर्ता लिन चाहने समानुपातिक उम्मेद्वारलाई आयोगले दियो भोलि ४ बजेसम्मको समय

फागुन २१मा हुने निर्वाचनमा समानुपातिक तर्फ बन्द सूचीमा नाम समावेश भएका उम्मेद्वारले सोमबार नाम फिर्ता गर्न सक्ने भएका छन् ।

निर्वाचन आयोगले आइतबार विज्ञप्ति जारी गरी सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म उम्मेद्वारी फिर्ताको निवेदन दिन सूचना जारी गरेको हो ।

समानुपातिक निर्वाचनमा यसपालि ६४ वटा दलले प्रतिस्पर्धा गर्दैछन् ।

सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारहरूले नाम फिर्ता लिने घोषणा गरेका छन् ।

 

 

काङ्ग्रेस विशेष महाधिवेशनमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधि !

काठमाडौं । काङ्ग्रेसकाे विशेष महाधिवेशनका लागि साँझ सात बजेसम्म ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गरेका छन् । 

आठवटा क्लस्टरबाट भइरहेको दर्तामा अहिलेसम्म २ हजार ९ सय ४० भन्दा बढी प्रतिनिधिले नाम दर्ता गरेकाे दाबी गरिएकाे छ । 

महामन्त्रीद्वय गगनकुमार थापा र विश्‍वप्रकाश शर्माको अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता चलिरहेको छ ।

कांग्रेसका देशभर चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् । यसअघि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनकाे माग गरेका थिए । साेहीअनुसार विशेष महाधिवेशन भएकाे हाे । 

विशेष महाधिवेशनले नीति र नेतृत्व दुवै फेर्ने बताइएकाे छ । महामन्त्री थापाले विशेष महाधिवेशनकाे हलले गर्ने निर्णय स्वीकार्ने बताएका छन् ।

काङ्ग्रेसको विशेष महाधिवेशन उद्घाटन सत्रमा कुन नेताले के भने ?

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन भृकुटीमण्डपमा आइतबारबाट सुरु भएको छ। खुला सत्रको उद्घाटन गर्दै कांग्रेसका २० भन्दा बढी नेताले पार्टीको वर्तमान नेतृत्व, आन्तरिक लोकतन्त्र र रूपान्तरणको आवश्यकतामाथि धारणा राखेका छन्।

उद्घाटन सत्रमा बोल्ने अधिकांश नेताले पार्टी सभापति शेरबहादुर देउवालाई बन्दसत्रको उद्घाटनका लागि उपस्थित हुन आग्रह गर्दै कांग्रेसलाई विधि, विधान र लोकतान्त्रिक मूल्यअनुसार अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

नेताहरूले बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मरण गर्दै यो विशेष महाधिवेशन कांग्रेस रूपान्तरणको ऐतिहासिक अवसर भएको बताएका छन्।

गगन–विश्वप्रकाशको नेतृत्वमा नयाँ युग

कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले कांग्रेस अब गगन थापा र विश्वप्रकाश शर्माको युगमा प्रवेश गरेको बताएका छन्। जेन–जी आन्दोलनपछि सभापतिलाई सम्झाउने प्रयास सफल नभएको उल्लेख गर्दै उनले सभापति देउवालाई अझै पनि बन्दसत्रमा आएर पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन आग्रह गरे।

विशेष महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै मन्सुरले मेची–महाकालीबाट प्रतिनिधि सहभागी भएकाले अब नयाँ कांग्रेस बनाउने सपना पूरा हुने बताए।

‘किसुनजी सम्झेर कांग्रेस बचाउनुस्’

नेता चन्द्र भण्डारीले पूर्व सभापति कृष्णप्रसाद भट्टराई (किसुनजी)लाई स्मरण गर्दै सभापति देउवालाई कांग्रेस जोगाउन आग्रह गरे। उनले भौतिक तडक–भडकले देश नबन्ने भन्दै विचार र मूल्यले मात्रै मुलुक अघि बढ्ने धारणा राखे। कांग्रेसले ऐतिहासिक नेताहरूप्रति अपेक्षित सम्मान गर्न नसकेको उनको गुनासो थियो।

‘गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा किसुनजी सभापति हुनुहुन्थ्यो, यस्तै भेलामा किसुनजी आएर “जय नेपाल, हामीबीच कुनै विमति छैन” भन्नुभएको थियो,’ सम्बोधनका क्रममा भण्डारीले भने, ‘किसुनजीका अनुयायी शेरबहादुर दाइ आएर कांग्रेस बचाउनुपर्छ।’

उनले मुलुक गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै भौतिक तडक–भडकले देश नबन्ने स्पष्ट पारे। ‘राम्रा गाडी चढेर र चिल्ला कुरा गरेर देश बन्दैन,’ भण्डारीले भने, ‘गाडी दिएर मुलुक अगाडि बढ्न सक्दैन, व्यक्ति विचारले चल्छ, पदले मुलुक बन्दैन।’

विधानअनुसार विशेष महाधिवेशन

नेता प्रदीप पौडेलले विधानले निर्दिष्ट गरेअनुसार नै विशेष महाधिवेशन अघि बढेको बताए। नियमित महाधिवेशन समयमै नगरेकाले विशेष महाधिवेशनको अवस्था आएको उनको भनाइ थियो।

‘विशेष महाधिवेशन दर्ता गरेको तीन महिनाभित्र नियमित महाधिवेशन गरिएको भए विशेष महाधिवेशन स्वतः निष्क्रिय हुने थियो,’ उनले भने, ‘कांग्रेस नेताहरूले महाधिवेशन माग गर्नेहरूको भावना नबुझेका कारण आज विशेष महाधिवेशन आयोजना भएको हो।’

‘पार्टी कब्जा गरिएको छ’

नेता सुनिल शर्माले सभापति देउवाले पार्टी कब्जामा लिएको आरोप लगाए। उनले पार्टीभित्र लोकतान्त्रिक मूल्य कमजोर हुँदै गएको र विचारधाराबाट विचलन भइरहेको दाबी गरे। देउवालाई बन्दसत्र उद्घाटनका लागि आउन चुनौती दिँदै उनले खुला प्रतिस्पर्धाबाट भाग्न नहुने बताए।

सभापति देउवाप्रति कटाक्ष गर्दै शर्माले भने, ‘शेरबहादुर दाइ, तपाईंलाई माथिबाट बोलाइरहेको बेला पार्टीमा रोइलो नमच्चाउनुस्।’ उनले नेतृत्व प्रतिस्पर्धाबाट भाग्न नहुने भन्दै महाधिवेशनमा खुला प्रतिस्पर्धाको आह्वान गरे।

‘भोलि बिहान हल उद्घाटन गर्न आउनुस्,’ शर्माले भने, ‘आउनुस्, प्रतिस्पर्धा गरौँ। जसले हारे पनि लोकतन्त्रले हार्नु हुँदैन।’

नेताको होइन, नीतिको कांग्रेस

नेता अर्जुननरसिंह केसीले कांग्रेसलाई व्यक्तिकेन्द्रित होइन, नीतिकेन्द्रित पार्टी बनाउने बेला आएको बताए। ‘परिक्रमा गर्ने होइन, पराक्रम गर्नेको कांग्रेस बनाउनुपर्छ,’ उनको भनाइ थियो।

मुलुकलाई भ्रष्टाचारको दलदलबाट निकाल्नेमा उनले जोड दिए।

विधि र विधानको जोड

पूर्व उपसभापति गोपालमान श्रेष्ठले कांग्रेस कुनै व्यक्तिको पेवा नभई विधानअनुसार चल्नुपर्ने बताए। इतिहासका उपलब्धिमात्र सम्झेर भविष्य सुरक्षित नहुने चेतावनी पनि उनले दिए।

‘दक्षिण एसियामा हाम्रो आकाशमा बादल मडारिएको छ,’ उनले भने।

इतिहासका उपलब्धिहरू मात्र स्मरण गरेर भविष्य सुरक्षित नहुने धारणा व्यक्त गर्दै श्रेष्ठले भने, ‘राजा फाल्यौँ, प्रजातन्त्र ल्यायौँ भनेर इतिहासको ब्याज खाएर भविष्य चल्दैन।’

उनले नेपाली कांग्रेस कमजोर भए देशको लोकतन्त्र नै कमजोर हुने भन्दै पार्टीलाई सशक्त, अनुशासित र विधानसम्मत ढंगले अघि बढाउन आवश्यक रहेको बताए।

‘कोमामा रहेको कांग्रेस ब्यूँतियो’

बैतडी कांग्रेस सभापति चतुरबहादुर चन्दले चार महिनादेखि कोमामा रहेको कांग्रेसलाई महामन्त्रीद्वयले प्राण दिएर बाहिर निकालेको टिप्पणी गरे।

‘कांग्रेस अब यो देशको अभिभावक पार्टी बन्दै छ। इतिहासमा नेतृत्व दिएको कांग्रेस पछिल्ला चार महिना पछारिएको थियो,’ उनले भने, ‘विशेष महाधिवेशनले कांग्रेसभित्रको विकृति अन्त्य गर्ने गरी नीति पास गर्नुपर्छ।’

सिद्धान्त बेच्ने राजनीतिमाथि प्रश्न

नेता देवराज चालिसेले सत्ताका लागि सिद्धान्त बेच्ने राजनीतिले भ्रष्टाचारको सुरुआत भएको बताए। पार्टीको आयु सत्ताभन्दा जनताको मनसँग जोडिएको उनको भनाइ थियो।

उनले भने, ‘विधान लागू गर्दा पार्टी फुट्छ भने त्यो विधान खारेज गर्नुस्, अन्यथा पार्टीको विधान उल्लङ्घन गर्ने अधिकार सभापति र केन्द्रीय समितिलाई छैन।’

गुटमुक्त कांग्रेसको आह्वान

केन्द्रीय सदस्य पुष्पा भुसालले गुट र कृपाबाट मुक्त कांग्रेस निर्माण गर्नुपर्ने बताइन्। संस्थापन पक्षका ३० केन्द्रीय सदस्यको प्रतिनिधित्व गर्दै बोल्दै उनले सुधारिएको कांग्रेसको अपेक्षा व्यक्त गरिन्।

‘हामी चाहन्छौँ अब नेपाली कांग्रेस गुटबाट मुक्त हुनुपर्छ। नेपाली कांग्रेसको यो कुरुक्षेत्र अब हिंसाबाट मुक्त हुनुपर्छ,’ उनले भनिन्, ‘नेपाली कांग्रेस अब कृपाबाट अलग हुनुपर्छ। हामी गुट चिन्दैनौँ, हामी कृपा मान्दैनौँ। हामी कांग्रेसलाई कमजोर हुन दिन चाहन्नौँ।’

देउवालाई अभिभावकको भूमिका सुझाव

नेता नरहरि आचार्यले सभापति देउवालाई जिम्मेवारी सुम्पेर अभिभावकको भूमिकामा बस्न सुझाव दिए। उनले विशेष महाधिवेशन बोलाउने विधानको प्रावधान पनि स्मरण गराए।

‘कांग्रेसले इतिहासमा भएका उथलपुथलमा सबैभन्दा अगाडि सरेर भूमिका निर्वाह गर्दै आएको छ,’ आचार्यले भने, ‘अहिलेको अर्थात् २०८२ को उथलपुथलमा भने नेपाली कांग्रेस केही अन्योलग्रस्त देखिन्छ।’

यो अन्योलबाट विशेष महाधिवेशनले कांग्रेसलाई रूपान्तरण गर्नुपर्ने आचार्यको धारणा थियो।

‘३५ वर्ष बाटो बिरायौँ’

कांग्रेस नेता तथा उद्योगपति विनोद चौधरीले जेन–जी आन्दोलन पछिल्ला ३५ वर्षको पीडा र व्यथाको प्रतिबिम्ब भएको बताए। कांग्रेसले अब बाटो नबिराई आर्थिक र राजनीतिक दुवै क्रान्तिको नेतृत्व गर्नुपर्ने उनको भनाइ थियो।

‘३५ वर्षसम्म हामीले बाटो बिराएका रहेछौँ,’ उनले भने, ‘अब नेपाली कांग्रेसले बाटो बिराउनु हुँदैन, रूपान्तरित भएर जानुपर्छ।’

साथै, चौधरीले कांग्रेसले देशमा राजनीतिक मात्र नभई आर्थिक क्रान्ति पनि गरेको दाबी गरे। युवाहरूको अवसरका रूपमा कांग्रेसलाई स्थापित गर्नुपर्नेमा उनको जोड थियो।

शेखर कोइरालाको सपनाका लागि सहभागिता

नेता केदार कार्कीले डा. शेखर कोइरालाको सपना साकार पार्न विशेष महाधिवेशनमा सहभागी भएको बताए। वर्तमान नेतृत्वले दिएको टिकट नलिने शेखर कोइरालाको अडानप्रति सम्मान व्यक्त गर्दै उनले कांग्रेसमा वैचारिक परिवर्तन आवश्यक रहेको धारणा राखे।

‘डा. शेखरलाई सम्मान गर्न चाहन्छु। उहाँको आवाजलाई साकार गर्न पनि म यहाँ आएको छु,’ उनले भने, ‘किनकि उहाँले भन्नुभयो—अहिलेको नेतृत्वले लिएको टिकट लिन्न।’

विशेष महाधिवेशनको खुला सत्रमा व्यक्त विचारहरूले कांग्रेसभित्रको आन्तरिक बहसलाई थप तीव्र बनाएको छ। अब सबैको ध्यान बन्दसत्र र त्यसले दिने राजनीतिक सन्देशतर्फ केन्द्रित भएको छ।

विशेष महाधिवेशनबाट सभापति बन्‍ने गगनकाे आकांक्षा प्रकट, भने – हलको निर्णय स्वीकार्छु

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई जेन–जी विद्रोहपछि पार्टी नेतृत्वबाट अलग हुन सुझाव दिएको स्मरण गरेका छन् ।

सोहीअनुसार देउवाले मंसिरभित्र महाधिवेशन गर्नु भन्दै कार्यवाहक सभापति दिएर अलग हुँदा देउवाको सम्मान बढेको बताए ।

तर, फेरि देउवाले सभापतिको कार्यकारी अधिकार प्रयोग गर्न थालेपछि ‘चिज बिग्रिएको’ बताए ।

‘अब समय आएको छ । तपाईंले आराम गर्नुपर्छ । तपाईंले मार्गप्रशस्त गर्नुपर्छ । तपाईंलाई सम्झिनेछौँ कि सुदूरपश्‍चिमको एउटा गाउँबाट आएर तपाईंले लोकतन्त्रका लागि गरेको संघर्ष,’ थापाले भने, ‘तपाईंले मंसिरभित्र महाधिवेशन गर्नुहोस् भनेर कार्यवाहक दिएर जाँदा तपाईंको सम्मान बढेको थियो । तर, अहिले …।’

थापाले विशेष महाधिवेशनको हलले गर्ने निर्णय स्वीकार्ने बताएका छन् । महाधिवेशन प्रतिनिधिहरूले नीति र नेतृत्व दुवै फेर्ने भनिरहेका बेला थापाको यस्तो भनाइ आएको हो ।

हलले नेतृत्व फेरे पार्टी विभाजन हुने संशय प्रकट भइरहेको छ । तर, थापाले महाधिवेशनको हलको म्यान्डेटविपरीत नजाने भनेर नेतृत्वमा तीब्र आकांक्षा प्रकट गरेका हुन् ।

विशेष महाधिवेशनलाई ‘विशेष’ नै बनाउने हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र विचार र मूल्यमान्यताको संघर्ष गरिएको बताएका छन् । उनले पार्टीको सत्ताको संघर्ष नगरिएको स्पष्ट पारे ।

काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि सुरु विशेष महाधिवेशनमा उनले भने, ‘पार्टीभित्रको सत्ता संघर्षको कारणले कोही यहाँ उपस्थिति भएको कोही नभएको दृष्य देखियो होला । यो संघर्ष हो । तर पार्टीमा विचारको संघर्ष हो । मूल्यमान्यताको संघर्ष हो । पार्टी सत्ताको होइन ।’

उनले अहिले पार्टीभित्र देश र नागरिकलाई कसरी बुझ्ने भन्ने संघर्ष भएको पनि बताए ।

उनका अनुसार अब विशेष महाधिवेशनलाई ‘विशेष’ नै बनाएर समापन गरिने छ ।

 

काँग्रेस विशेष महाधिवेशनको बन्द सत्र सोमबार बिहान ८ बजे सुरू हुने

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आजबाट सुरू भएको नेपाली काँग्रेसको विशेष महाधिवेशनको बन्द सत्र सोमबार बिहान ८ बजेबाट सुरू हुने भएको छ ।

काँग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा भएको विशेष महाधिवेशनमा ५० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले सहभागिताका लागि हस्ताक्षर गरिसकेका छन् ।

आइतबारको विशेष महाधिवेशन उद्घाटन सत्रमा पार्टी सभापति शेरबहादुर देउवा पक्ष भने उपस्थित भएको छैन । उद्घाटन सत्रमा बोल्ने अधिकांश वक्ताहरूले पार्टी सभापति देउवालाई सोमबार हुने बन्द सत्रमा प्रमुख अतिथिका रुपमा उपस्थित हुन आग्रह गरेका थिए ।

कांग्रेसमा अब इतर–भितर छैन, नेतृत्व फेरेर जान्छौं : केदार कार्की

काठमाडौं । नेपाली कांग्रेसका नेता केदार कार्कीले आफू डा. शेखर कोइरालाको सपना साकार पार्न विशेष महाधिवेशनमा सहभागी भएको बताएका छन् । ‘डा.शेखरलाई सम्मान गर्न चाहन्छु, उहाँको आवाजलाई साकार गर्न पनि म यहाँ आएको छु,’ उनले भने, ‘किनकी उहाँले भन्नुभयो अहिलेको नेतृत्वले लिएको टिकट लिन्न ।’ चुनावअघि नियमित नभए विशेष महाधिवेशन गर्ने पक्षमा शेखर कोइरालाले संकल्प लिएको पनि कार्कीले सम्झिए ।

‘म नियमित महाधिवशेनको पक्षमा छु, नभए विशेष महाधिवेशनको पक्षमा छु भन्नु भएको थियो,’ उनले भने, ‘उहाँको भौतिक उपस्थिति जरुरी छैन, त्यो विचार सारा महाधिवेशन प्रतिनिधिहरुले पुरा गर्दै हुनुहुन्छ ।’ नेता कार्कीले विशेष महाधिवेशनबाट नेतृत्व फेरेरै जाने बताएका छन् । विशेष महाधिवेशनको उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै उनले भने, ‘हामी नेतृत्व फेरेर जान्छौँ ।’

भए नियमित नभए निर्वाचन अगाडि नै विशेष महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा आफू भएको उल्लेख गर्दै उनले कांग्रेस मालिकको आदेशले नभएर आम कार्यकर्ताहरूले बनाएको संरचना भएको बताए । उनले नेपाली कांग्रेसमा गुटगत राजनीति विशेष महाधिवेशनले खारेज गरिदिएको उल्लेख गर्दै भने, ‘अब इतर र भितर छैन । भन्ने सन्देश दिनलाई पनि विशेष महाधिवेशनमा आएका छौँ ।’

 

 

 

 

 

 

 

 

 

कांग्रेसलाई समाप्त हुन नदिन नेतृत्व परिवर्तन गर्न चाहेको हौं : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी नेतृत्वले विशेष महाधिवेशन पक्षधरलाई पार्टी फुटाउन खोजेको आरोप लगाएको बताएका छन् । उनले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरुलाई अपमान गर्दै पार्टी संस्थापन पक्षले उनीहरुमाथि पार्टी फुटाउन खोजेको आरोप लगाएको जिकिर गरेका हुन् ।

आइतबारबाट काठमाडौंमा शुरु भएको पार्टीको विशेष महाधिवेशनमा बोल्दै नेता पौडेलले नेपाली कांग्रेसको भविष्यका लागि पार्टी नेतृत्व परिवर्तन गर्न आफूहरु लागि परेको बताए । उनले कांग्रेसको भविष्य समाप्त हुन नदिन पनि आफूहरुले विशेष महाधिवेशन बोलाएको समेत बताए ।

नेता पौडेलले भने, ‘नेतृत्व रक्षाका लागि कांग्रेसको भविष्य समाप्त गर्ने कि कांग्रेसको भविष्यको निम्ति नेपाली कांग्रेसको नेतृत्व फेर्ने ? यो हाम्रो हातमा छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि साथीहरु उहाँहरुले कांग्रेसका निम्ति जीवन समर्पित गर्नु भयो । कसैले राज्यको पद प्राप्त गर्नु भएन होला । तर उहाँहरुले नेपाली कांग्रेसमा आफ्नो जीवन समर्पित गर्नु भएको छ । उहाँहरुलाई कांग्रेस फुटाउनु छैन । उहाँहरुलाई कांग्रेस बलियो बनाउनुछ । उहाँहरुलाई कांग्रेसलाई एकतावद्ध गर्नुछ । त्यसैले आदरणीय महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्दा उहाँहरुलाई अपमान गरेर कांग्रेस फुटाउन लागेको भनेर भन्न पाँदैन ।’ नेता पौडेलले विशेष महाधिवेशन पक्षधरहरुले पार्टीको विभाजन नचाहेको पनि बताए । पौडेलले विधानले निर्दिष्ट गरेको विशेष महाधिवेशन भएकाले कार्यसम्पादन समितिले निर्देशित गर्न नसक्ने बताए ।

उनले भने, ‘विशेष महाधिवेशन दर्ता गरेको तीन महिनामा नियमित महाधिवेशन गरिएको भए विशेष महाधिवेशन स्वतः निष्क्रिय हुने थियो ।’ कांग्रेस नेताहरुले महाधिवेशन माग गर्नेहरूको भावना नबुझेका कारण आज विशेष महाधिवेशन आयोजना भएको नेता पौडेलले बताए । बहुदलीय व्यवस्थामा गणित प्रधान विषय हुने बताउँदै पौडेलले विश्वास प्राप्त गर्न नसक्ने नेताले नैतिकताको ख्याल गर्नुपर्ने बताए । उनले भने, ‘कांग्रेस फुटाउन लाग्यो भन्न पाइँदैन, बहुदलीय व्यवस्थामा गणित प्रधान विषय हुन्छ । गणितका आधारमा विश्वास प्राप्त भएन भने नैतिकताको ख्याल गर्नुपर्छ । लोकतान्त्रिक पद्धतिका लागि संघर्ष गरेको नेतृत्वलाई अनुरोध गर्न चाहन्छु ।’

 

 

 

 

 

 

 

भृकुटीमण्डपबाट देउबालाई फूलको प्रहार, के देलान् देउबाले उपहार?

कांग्रेसका दुई महामन्त्रीको अगुवाइमा भृकुटीमण्डपमा विशेष महाधिवेशन उद्घाटन समारोह चलिरहँदा सभापति शेरबहादुर देउवा मौन थिए । साँझ पाँच बजे आसपासमा विशेष महाधिवेशनमा सहभागिताका लागि ५० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरे भने यति नै बेला देउवाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाए ।

भृकुटीमण्डपमा गगन-विश्वलाई समर्थन गर्दै भाषण गरेका अधिकांश नेताहरूले देउवालाई उद्घाट समारोहमा प्रमुख अतिथि बन्ने अवसर गुमाए पनि भोलि बन्द सत्र उद्घाटन गर्न आउन आग्रह गरेका थिए । विशेष महाधिवेशन आयोजकले सभापति देउवालाई प्रमुख अतिथि नै बनिदिन आग्रह गरेका थिए । निमन्त्रणा पत्र बोकेर गएका थिए रामपल्टन साह । साहले देउवा भेट्न त पाएनन्, देउवाका स्वकीय सचिव भानु देउवाले झपारेर फर्काएका थिए । साहका अनुसार भानु देउवाले चिठी पढेर उनकै खल्तीमा मात्रै राखिदिएनन्, ‘लाज लाग्दैन?’ भन्दै झपारे । अनि, तुरून्तै निस्केर जाऊ भनेर आदेश दिए ।

देउवा डेरामा अपमान भोगेका विशेष महाधिवेशन आयोजकले भने देउवालाई फूलले प्रहार गरे। उद्घाटन कार्यक्रममा बोल्ने अधिकांश नेताहरूले देउवालाई सभापतिका रुपमा पार्टी फूट्न नदिन अनुरोध गरे । उनीहरुले देउवालाई किसुनजी सम्झाए । २०५१ सालमा गिरिजाप्रसाद कोइरालाले अलग भेला गरेका थिए । यो भेलाले पार्टीलाई फुटतिर लगेको थियो । तर, पार्टी सभापति कृष्णप्रसाद भट्टराई कार्यक्रमस्थलमा पुगे र सबैलाई ‘जय नेपाल’ भनिदिए । किसुनजीले नै गिरिजाबाबु र उनका समर्थकलाई जय नेपाल गरेपछि पार्टी फुट्नबाट जोगिएको थियो । यो फूलको प्रहारले देउवा कति पग्लिन्छन्, त्यो अलग कुरा हो ।

तर, विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिले सहभागिता जनाउने सुनिश्चित भएपछि देउवा दबावमा छन् । विधानअनुसार आव्हान गरिएको र बहुमत सदस्यले सहमागिता जनाएको विशेष महाधिवेशनलाई अवैध करार गर्ने बाटोमा देउवा हिड्ने हो भने पार्टी विभाजन हुने निश्चित छ । विशेषले नयाँ नेतृत्व चयन गर्ने हो र त्यसलाई देउवाले नस्वीकार्ने हो भने चुनावको मुखमा काँग्रेस फुट्ने निश्चित नै हुने छ ।

विशेष महाधिवेशनवालाहरू लचक भए र नयाँ नेतृत्व चयन गरेनन् भने भने पनि पार्टी कसरी चलाउने, के गर्ने के नगर्ने भन्ने नीतिगत निर्देशन महाधिवेशनले पक्कै दिने छ । यसपछि पनि मनलाग्दी नेतृत्वले पार्टी सञ्चालन गर्ने ठाउँ रहनेछैन । विशेषको निर्देशनले देउवा र कार्यवाहक सभापति खड्कालाई मज्जैले अंकुश लगाउने छ ।

विशेषको निर्देशनले चुनाव अघि अर्को पार्टीसँग गठबन्धन गर्ने कि नगर्नेदेखि लिएर उम्मेद्वार कसरी छान्ने भन्नेसम्ममा देउवा-खड्कालाई बाउन्ड्री कोर्न सक्छन् । यसले देउवामाथि दवाब बढ्ने नै छ । अझ, देउवा पक्षका मानिएका गोपालमान श्रेष्ठजस्ता नेताहरू भृकुटीमण्डपमा गएर गगन-विश्वलाई ढाडस दिएपछि देउवामाथि पर्ने दवाब थप चर्को भयो ।

यतिबेला भृकुटीमण्डपमा जिज्ञासा छ- के भोलि देउवाले भृकुटीमण्डपको हलमा आएर ‘जय नेपाल’ गर्लान् ?

किसुनजीको उदाहरण पछ्याउँदै देउबाले ‘जय नेपाल’ गरेनन् भने कांग्रेस फेरि फुट्ला ? २०५९मा पार्टी फुटाएको मात्रै होइन, ज्ञानेन्द्र शाहको पछि लागेर प्रजातन्त्रै मासेको आरोप बोकेका देउवाले पार्टी फूटाएको अर्को आरोप पनि बोक्नु पर्ला ?

देउवालाई फूलले प्रहार गरिरहेका भृकुटीमण्डप सभाका सहभागी पनि यति बेला सोचिहरेका छन्- महाराजगञ्जबाट के देलान् देउबाले उपहार ?

तर, त्यो भन्दा ठूलो प्रश्न छ- काँग्रेस कता जाँदै छ ?

कांग्रेस गुटमुक्त र कृपाबाट अलग हुनुपर्छ : पुष्पा भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले पार्टीलाई गुटमुक्त बनाउँदै कृपाबाट अलग राख्नुपर्ने बताएकी छन् । काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेतृ भुसालले यस्तो बताएकी हुन् । उनले आफूहरु गुट नचिन्ने र कृपा नमान्ने जिकिर गरिन् । उनले पार्टीलाई थप कमजोर हुन नदिनको लागि विशेष महाधिवेशन आह्वान गरिएको बताइन् । उनले भनिन्, ‘हामी चाहन्छौँ अब नेपाली कांग्रेस गुटबाट मुक्त हुनुपर्छ ।

नेपाली कांग्रेसको यो कुरु क्षेत्र अब हिंसाबाट मुक्त हुनुपर्छ । नेपाली कांग्रेस अब कृपाबाट अलग हुनुपर्छ । हामी गुट चिन्दैनौँ, हामी कृपा मान्दैनौँ । हामी कांग्रेसलाई कमजोर हुन दिन चाहन्नौँ ।’ उनले युवाहरुको लागि स्वदेशमै रोजगारी सिर्जना हुने तथा महिलालाई सबै प्रकारको हिंसाबाट मुक्त गर्ने सन्देश महाधिवेशनले दिनुपर्नेमा जोड दिइन् ।

नेतृ पुष्पा भुसालले ५४ प्रतिशत विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकाहरूलाई सम्मान गर्नको लागि आजको कार्यक्रममा सहभागी भएको बताएकी छन् । विशेष महाधिवेशनको पक्षका खुलेका संस्थापन पक्षका ३० जना केन्द्रीय सदस्यहरुको तर्फबाट बोल्दै पार्टीको नेताहरूको घरमा जाँदा पनि कुनै निकास ननिस्केको सुनाइन् । उनले भनिन, ‘हामी निराश भएर फर्किएर आउनु परेको भएकाले ५४ प्रतिशत भन्दा बढी प्रतिनिधिलाई सम्मान गर्न आएका छौँ ।’ उनले विधानभन्दा बाहिर कोही नेता र कार्यकर्ता जान सक्दैन भन्ने सन्देश दिएको बताइन् ।

 

 

 

 

 

 

 

 

कांग्रेस महामन्त्रीद्वयलाई विनोद चौधरीको आग्रह : नेतृत्वमा पुग्ने यात्राबाट पछि नहट्नुस्

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसद एवं उद्योगपति विनोद चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीको नेतृत्वमा पुग्ने अभियानबाट पछि नहट्न आग्रह गरेका छन् । आइतबारबाट काठमाडौंमा शुरु भएको पार्टीको विशेष महाधिवेशनमा बोल्दै उनले सो कुरा बताएका हुन् । नेता चौधरीले विशेष महाधिवेशन पक्षधरहरुले युवा नेतृत्व चाहेको र त्यो अभियानलाई महामन्त्रीद्वय थापा र शर्माले अधुरो छोडन नमिल्ने समेत बताए ।

उनले महामन्त्रीद्वयले पार्टीको नेतृत्व लिनुपर्ने र मुलुकलाई युवाहरुको सपना पूरा हुनेगरी विकासको खुड्किलोमा अघि बढाउनु पर्ने बताए । नेता चौधरीले मुलुकमा बलियो अर्थतन्त्र निर्माण गर्ने काममा पनि अगुवाई कांग्रेसबाट भएको हेर्न चाहेको समेत बताए ।उनले आगामी निर्वाचनमा नेपाली कांग्रेसले ५० प्रतिशत भन्दा बढी युवाहरुलाई उम्मेदवार बनाउनु पर्ने प्रस्ताव समेत गरे ।

उनले भने, ‘नेपाली कांग्रेसले कमसेकम ५० प्रतिशत नयाँ अनुहारहरुलाई अब आउने निर्वाचनमा उम्मेदवार बनाएको देख्न चाहन्छ । नेपाली कांग्रेसले जेनजीको भावना बोकेकाहरुलाई पार्टी नेतृत्वको रुपमा उभ्याएको देख्न चाहन्छ । कुनै पनि मान्छेले राजनीतिलाई पेशा होइन, समाजलाई रुपान्तरण गर्ने समाजको एउटा प्लेटफर्मको रुपमा खुला हृदयले आमन्त्रणका साथ भित्र्याएको हेर्न चाहन्छ । त्यस्तो नेपाली कांग्रेस जसले २०४८ सालमा यो देशको आर्थिक रुपान्तरण नै गर्‍यो । नेपाली कांग्रेसले राजनीतिक रुपान्तरण मात्रै होइन आर्थिक रुपान्तरण नै २०४८ सालमा गरेको र त्यसैआधारमा त्यही आधारमा आजसम्म पनि देश कुनै न कुनै त्यही रुपमा चलिराखेको छ ।’

उनले भने, ‘फेरि नेपाली कांगे्रसले ती पुराना जेलनेल भोगेको पोलिटिकलका साथसाथ अर्थतन्त्रलाई एउटा बलियो दिशा दिनसक्ने, एउटा सक्रियताका साथ ती प्रकृतिले दिएको अवसरहरुलाई सार्थक बनाउन सक्ने त्यस्तो किसिमको एउटा अर्थतन्त्र निर्माण गर्न सक्ने । यी दुवै पक्षलाई लिएर जान सक्ने एउटा बलियो साझेदारीलाई लिएर जान सक्ने युवाहरुको सपनालाई सार्थक बनाउन सक्ने प्रतिवद्धता भएको पार्टी देख्न चाहेको छ । म आज मञ्चबाट दुवै महामन्त्रीलाई बधाई दिन चाहन्छु–अगाडि बढनुहोस् । आजको यो यात्रालाई अधुरो नछोड्नुस् । यसलाई एउटा निर्णायक ठाउँमा पुर्‍याउनुहोस् । अब यो नेपालले कुर्नै नसक्ने अवस्थामा पुगेको नेपाललाई विकासको त्यो खुडकिलोमा पुर्‍याउनुहोस् ।’ नेता चौधरीले नेपाली कांग्रेसले जेन–जीको भावनाअनुसार चल्नुपर्ने समेत बताए।

 

 

 

 

 

 

जसपा नेपाल र लोसपाबीच १२ बुँदे सम्झौता : महन्थ संरक्षक, उपेन्द्र अध्यक्ष (सूचीसहित)

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच १२ बुँदे सम्झौता भएको छ । उपेन्द्र यादव र महन्थ ठाकुरले १२ बुँदे समझदारीमा हस्ताक्षर गर्दै नेताहरूको कार्यविभाजन समेत गरेका छन् । जसअनुसार ठाकुर संरक्षक रहने र यादव अध्यक्ष रहने सहमति भएको छ ।

सम्झौताअनुसार एकीकरणपछि दलको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम रहनेछ भने पार्टीको चुनाव चिन्ह छाता रहनेछ । ‎एकीकृत पार्टीलाई सञ्चालन गर्न ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ । समन्वय समितिले आफू मध्येबाट ११ सदस्यीय सचिवालय गठन गर्नेछ । दुवै पार्टीका केन्द्रीय समिति पूर्णरूपमा समायोजन नहुन्जेलसम्म केन्द्रीय समन्वय समिति नै पार्टीको संगठन सञ्चालन, परिचालन, निर्देशन तथा निर्णायक निकाय रहनेछ ।

‎सम्झौतामा दुवै पार्टी मातहत रहेका सबै तह र निकायका संगठन, भ्रातृ तथा शुभेच्छुक संगठन, विभाग तथा संयन्त्रहरू जनता समाजवादी पार्टी, नेपालको मातहतमा रही केन्द्रीय समन्वय समितिको निर्णयअनुसार क्रियाशील रहने उल्लेख गरिएको छ । समायोजन प्रक्रिया पूरा नहुन्जेलसम्म संगठनहरू आ–आफ्नो कार्यक्षेत्रमा सक्रिय रहने छन् । ‎‎केन्द्रीय समन्वय समितिका निर्णयहरू पार्टीका संरक्षक तथा अध्यक्षबाट प्रमाणीकरण गरिने व्यवस्था छ । ‎सम्झौतासँगै मधेश प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि महिला, अल्पसंख्यक र दलित समूहमा यसअघि दिइएको उम्मेदवारी निस्क्रिय गर्ने सहमति पनि गरिएको छ ।

 

 

 

 

 

 

 

बहुमत प्राप्त गरेर देशमा नयाँ वामपन्थी क्रान्तिकारी सरकार बनाउँछौं : खनाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले आगामी निर्वाचनमा बहुमत प्राप्त गरेर देशमा नयाँ वामपन्थी क्रान्तिकारी सरकार बनाउने बताएका छन् । जेन–जी रेडफोर्सले आइतवार आयोजना गरेको जेनजी जागरण तथा वृहत सांस्कृतिक कार्यक्रममा उनले पार्टीको अबको लक्ष्य निर्वाचनमा बहुमत ल्याउने रहेको बताए ।

बहुमत ल्याएपछि नयाँ वामपन्थी क्रान्तिकारी सरकार निर्माण गरेर वैज्ञानिक समाजवादको दिशातर्फ देशलाई लैजाने उनले बताए । उनले सम्पूर्ण नेपालीको नेतृत्व अब नेपाली कम्युनिष्ट पार्टीले गर्ने पनि दाबी गरे । नेपाली कम्युनिष्ट पार्टीको उम्मेद्वारलाई जिताउनको लागि देशभर तयारी थाल्न पार्टीका कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, ‘नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई करोड ९२ लाख जनतालाई एकतावद्ध गरेर हामी अब नयाँ समाजवादी क्रान्तिमा जाँदैछौँ । तर अहिले चाहीँ हामी निर्वाचनको अभियानतर्फ अगाडि बढ्दैछौँ । यो निर्वाचनमा तपाई हामीले देशव्यापी रुपमा हाम्रा उम्मेद्वारहरुलाई विजयी गराएर आउने संसदलाई परिवर्तनकारी संसदको रुपमा रुपान्तरण गर्नको लागि देशव्यापी रुपमा हाम्रो उम्मेद्वारहरुलाई विजयी गराउने र हामीले बहुमत प्राप्त गरेर यो देशमा नयाँ वामपन्थी क्रान्तिकारी सरकार निर्माण गर्नु आजको हाम्रो कार्यनीतिक लक्ष्य हो । त्यो बनायौँ भने मात्रै हामी वैज्ञानिक समाजवादको दिशामा अघि बढ्नेछौँ ।’ उनले युवाहरुलाई पार्टी नेतृत्वको लागि तयार गर्ने कुरामा आफूहरु लागेको पनि जानकारी दिए । पार्टीमा ४० प्रतिशत युवाको सहभागिता रहने उनको भनाई छ ।

निर्वाचनमा पार्टीले युवालाई उम्मेद्वार बनाउने छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा पार्टीले युवालाई उम्मेद्वार बनाउने बताएका छन् । जेन–जी रेडफोर्सले आयोजना गरेको आइतबार आयोजना गरेको जेन–जी जागरण तथा वृहत सांस्कृतिक कार्यक्रममा उनले युवाहरुलाई प्राथमिकतामा राखेर उम्मेद्वार बनाउने बताएका हुन् । उनले समानुपातिकको बन्दसूचीमा पनि युवाहरुलाई प्राथमिकतामा राखेको र प्रत्यक्षतर्फ पनि युवा तथा जेनजी पुस्ताका नवयुवाहरुलाई उम्मेद्वार बनाउने जानकारी दिए । पार्टीको केन्द्रिय समितिमा पनि युवाहरुको उपस्थिति बलियो बनाउने तयारी रहेको उनले बताए ।

उनले भने, ‘हामीले अहिले पार्टी निर्माणको क्रममा होस् या चुनावमा । समानुपातिक लिष्ट तयार पार्दा होस् या प्रत्यक्ष निर्वाचनमा पनि युवा र नवयुवा जो जेन–जी पुस्ताका युवाको रुपमा चिनिन्छन् । उनीहरुलाई उच्च प्राथमिकता दिने हामीले कोशिस गरेका छौँ । हामीले जेन–जी पुस्ताको मुस्कान खातुनलाई अगाडि सारेर हजारौँ लाखौं युवाहरुलाई सम्बोधन गर्न खोजेका छौँ । आउने दिनमा पनि प्रत्यक्ष वा समानुपातिकमा पनि बढि भन्दा बढी युवाहरुलाई र केन्द्रिय समितिमा पनि बढि भन्दा बढी युवाहरुलाई हामी समेट्दै छौँ ।’ संयोजक दाहालेले जेन–जी रेड फोर्सलाई भ्रातृसंस्थाको मान्यता दिने पनि बताए । उनले भ्रातृसंस्थाहरुले कार्यक्रम आयोजना गर्दा पूर्व माओवादीको शैलीले नगर्न पनि निर्देशन दिए । उनले अब माओवादी नभई नेपाली कम्युनिष्ट पार्टीको स्प्रिटमा सबै लाग्नुपर्नेमा जोड दिए ।

आन्दोलन गर्न सक्यौ, शासन सत्ता चलाउन सकेनौं : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता चन्द्र भण्डारीले पार्टीमा व्यापक परिवर्तन आवश्यक रहेको र मात्र पद बाँडेर मुलुक अगाडि बढ्न नसक्ने स्पष्ट पारेका छन् । कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगत ३४ वर्षको अनुभवलाई उद्धृत गर्दै भने, ‘ठूला पार्टीहरू मिलेर सरकार बनायौं, तर हाम्रा नेताहरूलाई जोगाउन हेलिकप्टर चढाएर लगेर राख्नु पर्‍यो ।’

भण्डारीले आफ्नो सम्बोधनमा देश अहिले संकटमा रहेको बताए । उनले भने, ‘अहिले हाम्रो मुख्य लक्ष्य प्रजातन्त्र जोगाउनु हो । देश अफ्यारो अवस्थामा छ र आगामी निर्वाचनमा हामीले एक ढिक्का भएर जानुपर्छ ।’ उनले पार्टीहरूले अब पद बाँड्नेभन्दा पार्टी निर्माण र नेतृत्व सुदृढीकरणमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । नेता भण्डारीले यसअघि भएका विभिन्न आन्दोलनले केही उपलब्धि त ल्याएको तर शासन सञ्चालन गर्न नसक्दा देश संकटमा परेको बताए ।

उनले स्पष्ट पारे, ‘चलाख र सक्षम नेतृत्व नभए, जति पद दिए पनि मुलुक चल्दैन । हामीले समाजमा आशा जगाउन सकेनौं । आन्दोलन गर्न सक्यौं, शासन चलाउन सक्यौं भने वर्तमान संकट आउँदैनथ्यो ।’ भण्डारीले विशेष महाधिवेशनले कांग्रेस र देशको लागि योग्य नेतृत्व र स्पष्ट नीति तय गर्नुपर्ने बताए । ‘अब समाजमा आशा जगाउने बेला आएको छ । त्यसका लागि महाधिवेशनले सही निर्णय गर्नु आवश्यक छ’, उनले भने । उनको भनाइ अनुसार, आगामी दिनमा पार्टीले मात्र नभई राष्ट्रले पनि स्थिरता र विकासतर्फ अघि बढ्न सक्षम नेतृत्वको आवश्यकता छ ।

 

 

 

 

किसुनीजीलाई सम्झेर देउवाले भोली बन्दसत्र उद्घाटन गर्न आउनुपर्छ : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवालाई पूर्व सभापति कृष्णप्रसाद भट्टराई (किसुनजी)लाई स्मरण गर्दै पार्टी बचाउन आग्रह गरेका छन् ।

कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै भण्डारीले कांग्रेसको इतिहास स्मरण गराउँदै नेतृत्वबीचको एकता र सहमतिलाई प्राथमिकता दिनुपर्ने बताए। 

‘गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा किसुनजी सभापति हुनुहुन्थ्यो, यस्तै भेलामा किसुनजी आएर ‘जय नेपाल, हामीबीच कुनै विमति छैन’ भन्नुभएको थियो’, सम्बोधनका क्रममा भण्डारीले भने, ‘किसुनजीका अनुयायी शेरबहादुर दाइ आएर कांग्रेस बचाउनुपर्छ।’

उनले मुलुक गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै भौतिक तडक–भडकले देश नबन्ने स्पष्ट पारे। ‘राम्रा गाडी चढेर र चिल्ला कुरा गरेर देश बन्दैन,’ भण्डारीले भने, ‘गाडी दिएर मुलुक अगाडि बढ्न सक्दैन, व्यक्ति विचारले चल्छ, पदले मुलुक बन्दैन।’

भण्डारीले कांग्रेसका ऐतिहासिक नेताहरू बी.पी. कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाप्रति पार्टीले अपेक्षित सम्मान दिन नसकेको पनि बताए। 

कांग्रेसको विशेष महाधिवेशनमा ५० प्रतिशत प्रतिनिधिले दर्ता गरे नाम

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता निरन्तर चलिरहेको छ । कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा हुन लागेको दुई दिने महाधिवेशनको पहिलो दिन आज आठ वटा ‘स्टल’बाट नाम दर्ता प्रक्रिया सुरु भइरहेको छ । बिहान ९ बजेदेखि सुरु भएको नाम दर्तामा हालसम्म २३४० सय भन्दा बढी प्रतिनिधिले नाम दर्ता गरेका छन् ।

कांग्रेसले कर्णाली र सुदूरपश्चिमका लागि एक स्टल, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाका लागि एक स्टल, उपत्यकाभित्रका काठमाडौँ, भक्तपुर र ललितपुरका लागि एक स्टल र बाँकी पाँच प्रदेशका लागि छुट्टाछुट्टै स्टलको व्यवस्था गरेको जनाएको छ । कांग्रेसमा देशभर चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।

३५ वर्षसम्म हामीले बाटो बिराएका रहेछौँ : विनोद चौधरी

अरबपति तथा काङ्ग्रेस नेता विनोद चौधरीले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन गत ३५ वर्षसम्म नेपालीले भोग्नु परेको पिडा र व्यथा भएको बताएका छन्। 

‘ ३५ वर्षसम्म हामीले बाटो बिराएका रहेछौ’, उनले भने ‘ अब नेपाली कांग्रेसले बाटो बिराउनु हुदैन, रुपान्तरित भएर जानुपर्छ।’

साथै, चौधरीले कांग्रेसले देशमा राजनैतिक मात्र नभएर आर्थिक क्रान्ति पनि गरेको दाबी गरे। युवाहरुको अवसरका रुपमा कांग्रेसलाई स्थापित गर्नुपर्नेमा उनको जोड थियो। 

काङ्ग्रेस विशेष महाधिवेशन : चार बजेसम्म ४९.३४ प्रतिशत प्रतिनिधिद्वारा नाम दर्ता

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि आइतबार अपराह्न ४ बजेसम्म ४९.३४ प्रतिशत प्रतिनिधिले नाम दर्ता गराएका छन् । 

विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा नाम दर्ता गर्ने क्रम धमाधम चलिरहेको छ । अझै दर्ता गर्ने क्रम जारी रहेको भन्दै विशेष महाधिवेशन पक्षधरले लाइनमा अझै ४०० जना भन्दा बढी रहेको दाबी गरेको छ । 

रास्वपा सहमहामन्त्री आचार्य समानुपातिक सूचीबाट बाहिरिए, अब प्रत्यक्ष चुनाव लड्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। पुस १३ गते रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा उनको नाम खस÷आर्य समूहतर्फ पहिलो नम्बरमा थिए । तर, आफै समानुपातिक उम्मेदवार खोज्ने समितिमा रहेर आफै पहिलो नम्बरमा बसेको भन्दै उनको चर्को आलोचना भएको थियो ।

निर्वाचन आयोगले समानुपातिक सूची सच्याउन दिएको आज अन्तिम दिनमा उनले नाम फिर्ता लिएका हुन् । आचार्यले पार्टी सभापति रवि लामिछानेसँग परामर्श गरेर नाम फिर्ता लिएका हुन् । उनले अब प्रत्यक्ष चुनाव लड्ने बताएका छन् । ‘समानुपातिकतर्फको बन्दसूचीको एक नम्बरमा रहेको मेरो नाम छोडेर प्रत्यक्षतर्फको यात्रा अघि बढाउँदैछु,’ आचार्यले फेसबुकमा लेखेका छन्, ‘साथ र सहयोगको अपेक्षा गर्दछु ।’ उनी दाङका हुन् । दाङमा ३ वटा निर्वाचन क्षेत्र छन् । अब तीमध्ये कुनै एक क्षेत्रबाट प्रत्यक्ष चुनाव लड्ने छन् ।

‘घुमन्ते उम्मेदवार’ प्रचण्ड, यसपटक रुकुम पूर्वबाट निर्वाचन लड्ने टुंगो

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वबाट प्रतिनिधिसभा निर्वाचन लड्ने निश्‍चित गरेका छन् । उनी शनिबार रुकुम पूर्व पुगेका थिए ।

त्यहाँ पुगेर उनले आगामी २१ फागुनमा हुने निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार बन्‍ने बताएका हुन् ।

हालै रुकुम पूर्वबाट काठमाडौं आएको पार्टीको एक प्रतिनिधिमण्डलले संयोजक दाहाललाई यसपटक चुनाव लड्न आग्रह गरेका थिए । त्यसअघि उनको नाम प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भएको थियो ।

रुकुमपूर्व पनि रुकुम पश्चिम र रोल्पाजस्तै १० वर्षे माओवादी युद्धको ‘इपिसेन्टर’ हो । उक्त युद्ध प्रचण्डकै नेतृत्वमा भएको थियो ।

प्रचण्डले अब पाचौँपटक निर्वाचन लड्ने क्षेत्र रुकुम पूर्वलाई नै रोजेका हुन् । यससँगै प्रचण्ड युद्धको केन्द्रमा निर्वाचन लड्न १८ वर्षपछि फर्किए ।

तत्कालीन नेकपा माओवादी हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा आएपछि पहिलोपटक २०६४ सालमा संविधानसभा निर्वाचन हुँदा प्रचण्ड रोल्पा– २ मा उम्मेदवार भए । त्यसबेला उनी निर्वाचित भए ।

उनी विघटित प्रतिनिधिसभामा भने गोरखा–२ बाट निर्वाचित थिए । यसपटक त्यहाँबाट नेता लेखनाथ न्यौपानेको नाम सिफारिस भएको छ । उनले निर्वाचन लड्ने भएका छन् । उनी चुनावी अभियानमा सक्रिय भइसकेका छन् ।

प्रचण्डले २०७४ सालको प्रतिनिधिसभा निर्वाचन चितवन– ३ बाट जितेका थिए । २०७० को संविधानसभा निर्वाचन काठमाडौं–१० र सिरहा–३ बाट लडे । काठमाडौं–१० मा कांग्रेसका राजेन्द्रकुमार केसीसँग पराजित हुँदा सिरहा–३ मा जितेका थिए ।

२०६४ मा भने उनी रोल्पा–२ सँगै काठमाडौं–१० बाट निर्वाचन लडेका थिए । दुवै ठाउँबाट उनी निर्वाचित भएका थिए । यसले प्रचण्ड घुमन्ते नेता भएको देखाउँछ ।

दाहाल निर्वाचन क्षेत्र मात्रै होइन, पार्टी नाम पनि उत्तिकै फेर्ने नेता हुन् । उनले युद्ध नेकपा माओवादी पार्टीको नाममा नेतृत्व गरे ।

२०६४ सालपछि संविधानसभामा पहिलो दल भइसकेपछि नारायणकाजी श्रेष्ठको नेकपा संयुक्तसँग एकता गरेपछि एकीकृत नेकपा माओवादी बनाए ।

२०७४ अघि माओवादीबाट पहिले विभाजित भएका दल वा समूहलाई एकता प्रक्रियामा ल्याएपछि पार्टीको नाम नेकपा माओवादी केन्द्र राखे । गत मंसिरको तेस्रो सातादेखि भने विभिन्‍न दलहरूलाई एकता प्रक्रियामा ल्याएर नेपाली कम्युनिस्ट पार्टी बनाए ।

यसले पार्टी नाम पनि दाहाल उत्तिकै फर्ने नेता हुन् । कतिसम्म भने उनले नाम पनि पटकपटक फेरे । विद्यालय जीवनमा उनी छविलाल दाहाल थिए ।

जतिबेला भूमिगत भए, त्यसबेला उनको नाम कहिले कल्याण, विश्वास, निर्माण हुँदै प्रचण्ड भयो ।

 

विशेष महाधिवेशनले गरेका निर्णय देउवाले मान्नु पर्छ : देवराज चालिसे

काठमाडौं । नेपाली कांग्रेसका नेता देवराज चालिसे आफूहरूले पार्टी रूपान्तरणको प्रयास गरेको बताएका छन् । विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टी रूपान्तरणको लागि पार्टीभित्र झगडा गरेको बताए । उनले भने, ‘सत्तासँग सिद्धान्त बेच्ने राजनीतिले भ्रष्टाचारको सुरुआत भयो । त्यति मात्रै होइन चुनावअघि गठबन्धनको प्रयास हुँदै छ । त्यसले हाम्रो सिद्धान्तलाई कहाँ पुर्‍याउँछ ? आदर्शलाई कहाँ पुर्‍याउँछ ?’

उनले पार्टीको आयु सत्ता र सीटसँग नभई जनताको मनसँग जोडिन्छ भन्ने कुरा ख्याल गर्नुपर्ने बताए । उनले पार्टीको विधानअनुसार आफूहरूले विशेष महाधिवेशन गरेको बताए । उनले भने, ‘विधान लागू गर्दा पार्टी फुट्छ भने त्यो विधान खारेज गर्नुस्, अन्यथा पार्टीको विधान उल्लङ्घन गर्ने अधिकार सभापति र केन्द्रीय समितिलाई छैन ।’ नेता चालिसेले विशेष महाधिवेशनको हलबाट हुने निर्णय सबैले मान्नुपर्ने बताए ।

चालिसेले कसैको प्रभावमा नपरेर हलले निर्णय गर्ने बताए । सभापति शेबहादुर देउवालाई विधानअुनसार, विशेष महाधिवेशनको गर्न आग्रह गर्दा नमानेपछि आफूहरू सरेको उनको भनाइ थियो । अब विशेष महाधिवेशनले गर्ने निर्णय सबैले मान्नुपर्ने बताए । ‘हलभित्र पसेपछि हुने निर्णय शेरबहादुर देउवाले मान्नुुर्पछ, वडाको सदस्यले पनि मान्नु पर्छ,’ चालिसेले भने । विशेष महाधिवेशनका लागि अभियान चलाउने कांग्रेस नेतामध्ये चालिसे पनि एक हुन् । पार्टीलाई सुधार गर्न बाध्यकारी कदम चाल्नु परेको उनको भनाइ थियो ।

 

 

देउवालक्षित शर्माको कटाक्ष, स्वर्ग जाने बेलामा रोईलो नगर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई कब्जामा लिएको आरोप लगाएका छन्।

कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै शर्माले पार्टीभित्र लोकतान्त्रिक मूल्य–मान्यता कमजोर हुँदै गएको दाबी गरे। उनले कांग्रेसको विचारधारा मध्यमार्गी भएको उल्लेख गर्दै त्यसबाट विचलन भइरहेको आरोप लगाए।

सभापति देउवाप्रति कटाक्ष गर्दै शर्माले भने, ‘शेरबहादुर दाइ, तपाईंलाई माथिबाट बोलाइरहेको बेला पार्टीमा रोइलो नमच्चाउनुस्।’ उनले नेतृत्व प्रतिस्पर्धाबाट भाग्न नहुने भन्दै महाधिवेशनमा खुला प्रतिस्पर्धाको आह्वान गरे।

‘भोलि बिहान हल उद्घाटन गर्न आउनुस्,’ शर्माले भने ‘आउनुस् प्रतिस्पर्धा गरौं। जसले हारे पनि लोकतन्त्रले हार्नु हुँदैन ।’

उनले पार्टी नेतृत्वका लागि आफूहरू पाँच विकल्प लिएर तयार रहेको उल्लेख गर्दै पार्टीलाई लोकतान्त्रिक प्रक्रियामार्फत अगाडि बढाउनुपर्नेमा जोड दिए।

कांग्रेस चार महिनादेखि कोमामा थियो : चतुरबहादुर चन्द

काठमाडौं । नेपाली कांग्रेसका बैतडी जिल्ला सभापति चतुरबहादुर चन्दले चार महिनादेखि कोमामा रहेको कांग्रेसलाई महामन्त्रीद्वयले प्राण दिएर बाहिर निकालेको बताएका छन् । विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गदै देशले परिवर्तन खोजेको बताएका छन् ।

उनले भने, ‘कांग्रेस अब यो देशको अभिभावक पार्टी बन्दै छ । इतिहासमा नेतृत्व दिएको कांग्रेस पछिल्लो चार महिना पछारिएको थियो ।’ विशेष महाधिवेशनले कांग्रेसभित्रको विकृति अन्त्य गर्ने गरी नीति पास गर्नुपर्ने बताए। पार्टीमा युवा नेतृत्वलाई अगाडि सार्नुपर्ने पनि बताए ।

 

 

गगन थापा कांग्रेसजनको आशा र भरोसाका केन्द्र : तीर्थ लामा

काठमाडौं । नेपाली कांग्रेसका काभ्रे सभापति तीर्थ लामाले कांग्रेसको जिम्मेवारी अब महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको काँधमा आएको बताएका छन् । विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापा कांग्रेसजनको आशा र भरोसाको केन्द्र रहेको बताए । उनले विशेष महाधिवेशन उद्घाटन समारोह ऐतिहासिक भएको बताएका छन्।

जेनजी विद्रोहपछि पार्टीको निकास निकाल्ने ऐतिहासिक दिन भएको उनको भनाइ छ । उनले भने, ‘यो उपस्थितिले समयसापेक्ष चल्नुपर्छ भन्ने अग्रज नेताहरूलाई सन्देश दिएको छ । मुलुकलाई निकास दिनसक्ने नेताहरू भनेको गगन थापा र विश्वप्रकाश शर्मा नै हो ।’ उनले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने प्रस्ट पारे ।