`

उपमेयर कप भलिबल सम्पन्न

हेटौंडा। आठौं संस्करणको वडास्तरीय उपमेयर कप भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ हेटौंडा-५ र पुरुषतर्फ हेटौंडा-१९ ले जितेका छन्।

महिलातर्फको फाइनल खेलमा हेटौंडा-५ ले हेटौंडा-१२ लाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा पारेको हो। त्यस्तै पुरुषतर्फको फाइनलमा हेटौंडा-१९ ले हेटौंडा-११ विरुद्ध ३-२ को सेटमा जित निकाल्दै उपाधि जितेको हो।

महिलातर्फ विधागत पुरस्कारमा हेटौंडा-५ की आयुष्मा उप्रेती सेटर, अप्सना उप्रेती सर्भर, नमुना थिङ स्पाइकर र हेटौंडा-१२ की प्रशंसा भोम्जन डिफेन्डरमा उत्कृष्ट घोषित भए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सलिना मगर र उत्कृष्ट कोच आशीष राई बने।

पुरुषतर्फ हेटौंडा-१९ का विशेष थापामगर सर्वोत्कृष्ट खेलाडी घोषित भए। सुवास सुबेदी कोच, क्रिस लामा सेटर, हेटौंडा-११ का निश्चल कौचा ब्लकर, निरन सापकोटा डिफेन्डर र कुशल स्पाइकरमा उत्कृष्ट बने।

प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार र दोस्रो हुने टोलीले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए।

अन्तर्राष्ट्रिय श्रमिक दिवस : अनौपचारिक क्षेत्रका श्रमिकहरू अझै मारमा (तस्वीरहरू)

काठमाडौं । हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ। श्रमिकहरूको हक, अधिकार र योगदानको सम्मानमा मनाइने यस दिवसमा नेपालका अधिकांश श्रमिक भने अझै पनि आधारभूत अधिकारबाट वञ्चित छन्।

नेपालमा करिब ८० प्रतिशतभन्दा बढी श्रमिक अनौपचारिक क्षेत्रमा आबद्ध छन्। निर्माण, कृषि, यातायात, घरेलु काम लगायतका क्षेत्रमा कार्यरत यी श्रमिकहरू कुनै स्पष्ट श्रम सम्झौता, सामाजिक सुरक्षा वा बीमाको सुविधा बिना काम गर्न बाध्य छन्।

अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूका लागि कामको निश्चित समय, न्यूनतम ज्याला र सुरक्षित कार्यस्थल अझै सुनिश्चित हुन सकेको छैन। दैनिक ज्यालामा काम गर्नेहरू काम पाए मात्र आम्दानी हुने भएकाले उनीहरूको जीवनयापन अनिश्चित छ।

थापाथलीस्थित सुकुम्बासी बस्ती भत्किएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएकी ५५ वर्षीया गीता लामा दैनिक ज्याला मजदुरीका लागि साबेल चलाउँदै भन्छिन्, ‘अस्तिसम्म सुकुम्बासीमै भए पनि आफ्नै घर थियो, अहिले त्यो पनि छैन। हामी दैनिक ज्याला मजदुरी गर्नेहरूलाई काम पाउन गाह्रो छ, काम पाए पनि शारीरिक रूपमा गर्न नसकिने हुन्छ। दैनिक १ हजार ज्यालामा काम गर्नुपर्छ, महँगी बढेको छ, खाना, लुगा सबै चाहिन्छ। त्यो १ हजारले दैनिकी चलाउन पनि मुस्किल छ।’

सुकुम्बासी बस्तीबाटै होल्डिङ सेन्टरमा बस्दै आएका विजय मगरको पनि उस्तै अवस्था छ। उनले भने, ‘अहिले दैनिक कमाइले जीवन चलाउन मुस्किल छ, दैनिक कमाइ थोरै छ, महँगी बढ्दै गएको छ। सार्वजनिक बस चढ्दा उस्तै महँगो भाडा छ, बजारमा केही सस्तो छैन। दैनिक १ हजार कमाइ हुन्छ, सधैं काम पाइँदैन,’ उनले बताए।

बिहान कामको खोजीमा निस्किने र साँझ हातमा परेको ज्यालाले घर चलाउने बाध्यता गीता लामा र विजय मगरको मात्र होइन, अझै पनि हजारौं श्रमिकको यथार्थ हो। काम नपाएको दिन उनीहरूलाई परिवारको पेट पाल्नै समस्या हुने अवस्था छ।

सल्यानबाट काठमाडौं आई कुलेश्वर फलफूल बजारमा भारी बोक्दै आएका टेकबहादुर सुनार र वीरबहादुर बस्नेतको अवस्था पनि उस्तै छ। दैनिक रूपमा भारी बोक्ने उनीहरू, काम नभएको दिन कमाइविहीन हुन्छन्। न्यून कमाइबाटै परिवारको लालनपालन, पढाइ लगायत सबै जिम्मेवारी पूरा गर्नुपर्ने कर्तव्य उनीहरूको काँधमा छ। त्यसैले उनीहरू यो दुःखको काम छोड्न सक्दैनन्।

न्यूनतम ज्याला, सामाजिक सुरक्षा र बीमामा पहुँच बाहिर

सरकारले तोकेको न्यूनतम ज्याला व्यवहारमा कार्यान्वयन हुन सकेको छैन। विशेषगरी निर्माण र साना उद्योग क्षेत्रमा श्रमिकहरूले तोकिएकोभन्दा कम पारिश्रमिक पाउने गुनासो व्यापक छ।

श्रमिक संगठनहरूले बारम्बार आवाज उठाए पनि अनुगमन र कार्यान्वयन कमजोर देखिन्छ। त्यस्तै, सामाजिक सुरक्षा कोषको व्यवस्था भए पनि अनौपचारिक क्षेत्रका धेरै श्रमिक यसमा आबद्ध हुन सकेका छैनन्।

रोजगारी अस्थायी हुनु, जानकारीको अभाव र नियोक्ताको बेवास्ता यसको मुख्य कारण हुन्। यसका कारण दुर्घटना, बिरामी वा बेरोजगारीको अवस्थामा श्रमिकहरू पूर्ण रूपमा असुरक्षित रहन्छन्।

त्यसका साथै महिला श्रमिकहरू घरेलु काम, कृषि तथा साना उद्योगमा न्यून पारिश्रमिक र दोहोरो श्रमको मारमा छन्। यस्तै, वैदेशिक रोजगारीबाट फर्किएका वा देशभित्रै बसाइँ सरेका श्रमिकहरू पनि अस्थिर रोजगारीको चक्रमा फसेका देखिन्छन्।

श्रमिकको अधिकार कागजमै सीमित भएकाले व्यवहारमा सुनिश्चित हुन सकेको छैन। श्रमिकहरू संगठित हुन नसक्नु र आवाज कमजोर हुनु पनि अर्को चुनौती हो।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा औपचारिक कार्यक्रम र नाराहरूभन्दा बाहिर निस्केर श्रमिकहरूको वास्तविक समस्या समाधानतर्फ ठोस पहल आवश्यक देखिन्छ।

श्रमको सम्मान, उचित पारिश्रमिक, सामाजिक सुरक्षा र सुरक्षित कार्यस्थल सुनिश्चित नगरी समृद्धिको लक्ष्य हासिल गर्न कठिन हुने विज्ञहरू बताउँछन्।

२० जनाको लास भिरबाट सडकसम्म निकाल्न २० घण्टा

काठमाडौं । रोल्पाको जलजलामा २० जनाको लास भिरबाट सडकसम्म निकाल्न २० घण्टा लागेको छ । जिप खसेको स्थान अत्यन्त अप्ठेरो ठाउँ भएकाले सुरक्षाकर्मीले पहिले पैदल बाटो खोलेपछि डोरीको सहायताले सबै शव
सडकमा निकालेका छन्।

विकट भूगोल, भिरालो र खोंच क्षेत्र, कमजोर सञ्चार पहुँच जस्ता कारणले उद्धार कार्यमा ढिलाइ भएको प्रहरीले जनाएको छ ।
आज बिहान उज्यालो हुनेबित्तिकै उद्धार टोली डोरीको सहायताले बाटो बनाउँदै तल झरेका थिए। ‘एक–एक शव बोकेर माथि ल्याउनुपरेको कारण शुक्रबार दिउँसो झण्डै १२ बजेमात्र उद्धार कार्य सकिएको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो भएको दुर्घटनामा चालक सहित २० जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका थिए। चालकको भने अवस्था अज्ञात छ ।

मृतकमध्ये ४ बालक, ४ पुरुष र १२ महिला रहेका पुष्टि भए पनि उनीहरू कसैको पनि पहिचान खुल्न सकेको छैन।

रुकुमकोटबाट जलजलातर्फ एकै समयमा २–३ वटा गाडी गएका थिए। कुन गाडीमा को–को चढेका थिए भन्ने स्पष्ट नहुँदा सनाखतमा कठिनाइ भएको प्रहरीले जनाएको छ।

प्रधानमन्त्री बालेनमाथि पड्किइन् रक्षा बम भनिन् – ‘क्रान्ति करुणाबाट सुरु हुन्छ’

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बुद्ध जयन्तीका अवसरमा दिएको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै जेनजी अभियन्ता रक्षा बमले साँचो क्रान्ति करुणाबाट सुरु हुने बताएकी छन्।

प्रधानमन्त्री शाहले शान्तिको सन्देश दिँदै साँचो क्रान्ति ‘क’ बाट नभई ‘ज्ञ’ बाट सुरु हुने र त्यो ‘ज्ञ’ ज्ञान भएको उल्लेख गरेका थिए। उक्त भनाइलाई उद्धृत गर्दै अभियन्ता बमले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखेकी छन्, ‘साँचो क्रान्ति ‘क’ बाटै सुरु हुन्छ प्रधानमन्त्रीज्यू, र त्यो ‘क’ करुणा हो।’

सरकारले काठमाडौंका खोला किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर बस्ती हटाउने र प्रभावितहरूलाई होल्डिङ सेन्टरमा राखिएको विषयमा आलोचना भइरहेका बेला बमको टिप्पणी आएको हो।

दीर्घकालीन व्यवस्थापनको स्पष्ट योजना बिना नै बस्ती हटाइएको भन्दै नागरिक स्तरबाट विरोध भइरहेको छ। आलोचकहरूले सरकारको कदममा मानवीयता र करुणाको अभाव देखिएको आरोप लगाइरहेका छन्।

सुकुम्बासी बस्ती व्यवस्थापनको विषयलाई लिएर पछिल्ला दिनहरूमा बहस तीव्र बनेको छ भने नागरिक समाज र युवा अभियन्ताहरूले वैकल्पिक आवासको ग्यारेन्टीसहित मात्र यस्तो कार्य अघि बढाउन सरकारलाई दबाब दिँदै आएका छन्।

रितेश देशमुखको ‘राजा शिवाजी’ नेपालमा पनि प्रदर्शनमा

एजेन्सी। बलिउड अभिनेता रितेश देशमुखको ‘ड्रिम प्रोजेक्ट’ मानिएको फिल्म ‘राजा शिवाजी’ शुक्रबारदेखि नेपालमा प्रदर्शनमा आएको छ।

फिल्म नेपालका लागि आधिकारिक वितरक नेओम फिल्म्सका कश्यप नरेन्द्र वेद र नवीन उदासले उच्च शोसहित प्रदर्शन सुरु भएको जानकारी दिएका छन्।

साहस, नेतृत्व र स्वराजका प्रतीक छत्रपति शिवाजी महाराजको जीवन र दर्शनमा आधारित यस फिल्मले मराठा साम्राज्यका संस्थापक शिवाजी महाराजको ऐतिहासिक यात्रालाई प्रस्तुत गरेको छ।

फिल्ममा रितेश देशमुख स्वयंले निर्देशन तथा मुख्य भूमिकामा अभिनय गरेका छन्। साथै जेनेलिया देशमुख, सञ्जय दत्त, विद्या बालन, अभिषेक बच्चन र महेश मांजरेकरलगायतका कलाकारको अभिनय रहेको छ।

फिल्मको विशेष आकर्षणका रूपमा रितेशका कान्छा छोरा राहिल देशमुखले छत्रपति शिवाजी महाराजको बाल्यकालको भूमिका निर्वाह गर्दै अभिनयमा डेब्यु गरेका छन्।

जियो स्टुडियोज, ज्योति देशपाण्डे र जेनेलिया डिसुजाको निर्माण रहेको यो फिल्म करिब १०० करोड भारतीय रुपैयाँभन्दा बढी बजेटमा निर्माण गरिएको बताइएको छ।

रितेशको अघिल्लो मराठी फिल्म ‘वेड’ सफल भएपछि ‘राजा शिवाजी’ प्रति दर्शकको अपेक्षा उच्च रहेको छ।

स्पेस एक्सबाट मस्कलाई हटाउन मस्ककै सहमति चाहिने

एजेन्सी। अमेरिकी खर्बपति व्यापारी एलन मस्कको निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो प्रस्तावित प्राथमिक सेयर निष्कासन (आईपीओ) सम्बन्धी कागजातमा असामान्य शासन संरचना सार्वजनिक गरेको छ।

जसअनुसार कम्पनीका सीईओ तथा बोर्ड अध्यक्ष पदबाट मस्कलाई हटाउने प्रक्रिया अन्ततः उनकै नियन्त्रणमा रहने देखिएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समीक्षा गरेको फाइलिङअनुसार, मस्कलाई पदबाट हटाउने निर्णय दोस्रो श्रेणीका सेयरधनीको मतद्वारा मात्र सम्भव हुनेछ। तर यी सेयरहरूमा प्रत्येकको १० मत हुने भएकाले आईपीओपछि पनि मस्ककै नियन्त्रण कायम रहने व्यवस्था रहेको जनाइएको छ।

कागजातअनुसार, मस्कले दोस्रो श्रेणीका सेयरको ठूलो हिस्सा कायम राखेमा बोर्डका सदस्यहरूको चयन र हटाउने प्रक्रियामा समेत उनको निर्णायक प्रभाव रहनेछ। यसले कम्पनीको शासन संरचनामा उनको नियन्त्रण अत्यधिक बलियो बनाउने देखिन्छ।

स्पेसएक्सले आईपीओपछि दुई तहको सेयर संरचना अपनाउने योजना बनाएको छ। सार्वजनिक लगानीकर्ताका लागि क्लास ए र कम्पनीभित्रका व्यक्तिका लागि सुपर-भोटिङ अधिकारसहित क्लास बी सेयर। यद्यपि यस्तो संरचना केही प्रविधि कम्पनीहरूमा सामान्य भए पनि स्पेसएक्सको व्यवस्था अत्यन्तै कडा रहेको विश्लेषकहरूको भनाइ छ।

हार्वर्ड कानून विद्यालयका प्राध्यापक लुसियान बेबचकका अनुसार, यस्तो प्रावधान सामान्य नभएको र कम्पनी नियन्त्रणको परम्परागत अभ्यासभन्दा फरक रहेको बताएका छन्।

उनका अनुसार स्पेसएक्सको संरचनाले सीईओ हटाउने अधिकारलाई समेत मतदान शक्तिसँग प्रत्यक्ष रूपमा जोडेको छ, जसले मस्कको प्रभावलाई असाधारण रूपमा सुदृढ बनाएको छ।

स्पेसएक्सले सम्भावित लगानीकर्तालाई यस्तो संरचनाले कम्पनीका केही महत्वपूर्ण निर्णयहरूमा सीमित प्रभाव पार्न सक्ने चेतावनी पनि दिएको जनाइएको छ।

श्याम रिमालको कवितासङ्ग्रह ‘लाभा’ सार्वजनिक

काठमाडौं। साहित्यकार तथा पत्रकार श्याम रिमालको नयाँ कवितासङ्ग्रह ‘लाभा’ सार्वजनिक गरिएको छ।

भदौ महिनामा भएको जेनजी आन्दोलनलाई मुख्य आधार बनाइ लेखिएको कृतिमा आन्दोलनका भाव, सामाजिक परिवेश र नयाँ पुस्ताको आकांक्षालाई कवितामार्फत प्रस्तुत गरिएको लेखकले बताए।

विश्वभरका स्वप्नील, सिर्जनशील र साहसी युवापुस्तालाई समर्पित यो कृति रिमालकी ९२ वर्षीया आमा चेतकुमारी रिमालले प्रकाशन गरेकी हुन्।

कृतिमा २३ कविता र पुस्तक आवरणमा समावेश गरिएको एकसहित जम्मा २४ कविता छन्, जसले भदौ २३ र २४ का घटनालाई रूपकमार्फत संकेत गर्छन्।

गीत, मुक्तक, हाइकु, कथा र धारावाहिक उपन्याससहित विभिन्न विधामा सक्रिय रिमालका प्रकाशित कृतिहरूले उनलाई स्थापित साहित्यकारका रूपमा चिनाएका छन्।

‘लाभा’लाई उनको पछिल्लो रचनात्मक यात्राको नयाँ विस्तारका रूपमा हेरिएको छ।

श्रमिक दिवसमा ओलीले भने – ‘श्रमिकको विश्वव्यापी अधिकार सुनिश्चित हुनुपर्छ’

काठमाडौं। केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राज्यमा मानव गरिमाको रक्षा, श्रमिकको सुरक्षा र सम्मान सुनिश्चित हुनुपर्ने बताएका छन्।

उनले श्रमिकहरूको विश्वव्यापी अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै रोजगारदाता र श्रमिकबीच संवाद, सहकार्य र सहअस्तित्व आवश्यक रहेको उल्लेख गरेका छन्।

ओलीले सन्देशमा आफू सरकारमा रहँदा अपनाइएका नीतिको स्मरण गर्दै लेखेका छन्, ‘हामीले यसअघि सरकारमा रहँदा राज्यको नीति, ‘रोजगारदाता र श्रमिक’बीच संवाद, सहकार्य र सहअस्तित्वको बाटोमा अघि बढायौँ।’

उनका अनुसार उद्देश्य उद्योग सञ्चालन सहज बनाउने, रोजगारी वृद्धि गर्ने, श्रमिकलाई सुरक्षित राख्ने र नाफाको न्यायोचित वितरणमार्फत देशलाई समृद्ध बनाउने थियो।

संविधानले तय गरेको मार्गबाट राज्य विचलित हुन नहुने उनको भनाइ छ। श्रमिक सम्मानित हुने समाज नै समृद्ध हुने उनले सन्देशमा उल्लेख गरेका छन्।

ठेक्का विवरण हेरफेर : १३ जना पक्राउ

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) अन्तर्गतको ई–गभर्नमेन्ट प्रोक्योरमेन्ट (ई–जीपी) प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्का सम्बन्धी विवरण हेरफेर गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार ठेक्काको आर्थिक प्रस्ताव खोलिनुअघि नै कागजातहरूमा छेडछाड गरिएको उजुरीका आधारमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको हो।

यस प्रकरणका मुख्य आरोपित चितवन रत्ननगरका ऋषिकेश गौलीलाई पक्राउ गरिएको छ। हाल काठमाडौंको बूढानीलकण्ठमा बस्दै आएका उनलाई काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर नयाँ बानेश्वर क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गौलीमाथि विद्युतीय कारोबार ऐन, २०६३ तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत थप अनुसन्धान भइरहेको छ।

यसै प्रकरणमा संलग्न भएको आशंकामा अन्य १२ जना निर्माण व्यवसायीसहित कुल १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार ई–जीपी प्रणालीमा अनधिकृत पहुँचमार्फत सार्वजनिक खरिद प्रक्रियामा गम्भीर हस्तक्षेप गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

बुद्धनगरमा स्थानीयले बाहिरै टाँसे लालपूर्जा र नक्सापास (तस्वीरहरू)

काठमाडौं। बुद्धनगरस्थित बागमती नदी किनारका बासिन्दाले आफ्नो घरअगाडि जग्गाको लालपूर्जा र घरको नक्सा टाँसेका छन्।

वैधानिक कागजात भए पनि हुलमुलमा डोजर चल्न सक्ने डरका कारण यस्तो कदम चालिएको स्थानीयले बताएका छन्। उनीहरूका अनुसार कागजात हुँदाहुँदै पनि संरचना भत्किने आशंका बढेपछि प्रमाण देखिने गरी घरअगाडि नै टाँसिएको हो।

यद्यपि, अधिकांशले अझै घरका सामान सारेका छैनन्। भत्काउने सूचीमा परेका तर आवश्यक कागजात भएका बासिन्दाले आफू वैधानिक रहेको देखाउन यस्तो उपाय अपनाएको जनाइएको छ।

अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत उक्त क्षेत्रमा डोजरसमेत पुगिसकेको छ, जसले स्थानीयमा थप त्रास सिर्जना गरेको छ।

 

विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज (सूचीसहित)

काठमाडौं।  नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता त्यागेका १९ जना चिकित्सकको दर्ता (लाइसेन्स) खारेज गरेको छ।

काउन्सिलका अनुसार अमेरिका देखि बेलायतसम्मका सात देशका राहदानी लिएका नेपालीमूलका चिकित्सकहरूको नाम दर्ता किताबबाट हटाइएको हो। काउन्सिलका रजिस्ट्रार डा. सतिश देवका अनुसार यो निर्णय प्रचलित ऐन तथा नियमावली कार्यान्वयनको क्रममा गरिएको हो।

काउन्सिलले नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ र नेपाली नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता लिएका चिकित्सकहरूको लाइसेन्स खारेज गरिएको जनाएको छ।

विवरणअनुसार बेलायतको नागरिकता लिएका ७ जना, अमेरिकाका ५ जना, क्यानडा र न्युजिल्याण्डका २-२ जना तथा जर्मनी, भारत र अष्ट्रेलियाका १-१ जना चिकित्सकको दर्ता खारेज गरिएको हो।

काउन्सिलले यसलाई औपचारिक निर्णय कार्यान्वयनको प्रक्रिया भएको स्पष्ट पार्दै सम्बन्धित चिकित्सकहरूको नाम सार्वजनिक गर्ने सूचना मात्र प्रकाशित गरिएको जनाएको छ।

पाँच वर्षपछि सुकीलाई घरमै ‘नजरबन्द’ मा सार्ने निर्णय, अन्तर्राष्ट्रिय दबाब घटाउने प्रयास ?

एजेन्सी।  पाँच वर्षदेखि हिरासतमा राखिएकी म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीलाई सैनिक नेतृत्वले घरमै नजरबन्दमा सार्ने निर्णय गरेको छ।

जुन्ता प्रमुखबाट नागरिक राष्ट्रपति बनेका मिन आङ ह्लाइङले बिहीबार सुकीको बाँकी सजाय ‘तोकिएको निवास’ मा पूरा गर्न दिने आदेश दिएका हुन्। यस निर्णयलाई धेरैले अन्तर्राष्ट्रिय दबाब कम गर्ने रणनीतिका रूपमा व्याख्या गरेका छन्।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा ८० वर्षीया सुकीको सजायको स्वरूप परिवर्तन गरिएको उल्लेख गरिएको छ, तर उनलाई कहाँ राखिने भन्ने खुलाइएको छैन। सार्वजनिक गरिएको एक तस्वीरमा उनी दुई जना सुरक्षाकर्मीसँग बसेको देखिन्छ।

नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का एक वरिष्ठ स्रोतका अनुसार उनलाई राजधानी नेपिडावको कुनै सुरक्षित स्थानमा राखिएको हुनसक्ने अनुमान गरिएको छ, यद्यपि ठेगाना गोप्य राखिएको छ।

स्थानीय सुरक्षा स्रोतका अनुसार ‘तोकिएको निवास’ पूर्ण रूपमा सुरक्षा निकायको नियन्त्रणमा रहनेछ। सुकीको सजाय कति बाँकी छ भन्नेबारे भने सरकारी पक्ष मौन रहेको छ।

यस निर्णयलाई अन्तर्राष्ट्रिय समुदायले सावधानीपूर्वक स्वागत गरेको छ। संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकले यसलाई ‘विश्वसनीय राजनीतिक प्रक्रियातर्फको सम्भावित संकेत’ भनेका छन्। तर सुकीका वकिलहरूले उनी अझै पनि अन्यायपूर्ण रूपमा स्वतन्त्रताबाट वञ्चित रहेको बताएका छन्।

सन् २०२१ मा भएको म्यानमार सैन्य कू पछि मिन आङ ह्लाइङ नेतृत्वको सेनाले निर्वाचित सरकार अपदस्थ गर्दै सुकीलाई विभिन्न आरोपमा हिरासतमा राखेको थियो। अधिकारवादी समूहहरूले ती आरोपहरूलाई राजनीतिक प्रेरित भएको बताएका छन्।

त्यसयता म्यानमार गृहयुद्धमा फसेको छ।  जसले हजारौँको ज्यान लिएको छ भने लाखौँ नागरिक विस्थापित भएका छन्। हालै सम्पन्न विवादास्पद चुनावपछि बनेको सरकारमाथि पनि सैनिक प्रभाव कायम रहेको आरोप लागिरहेको छ।

विश्लेषकहरूका अनुसार सुकीलाई नजरबन्दमा सार्ने निर्णय अन्तर्राष्ट्रिय छवि सुधार्ने प्रयास हुन सक्छ। उनका छोरा किम एरिसले पनि यसलाई ‘पुरानै शैलीको खेल’ भन्दै आलोचना गरेका छन्।

देशभित्र अझै लोकप्रिय रहेकी सुकी लामो समयदेखि बाह्य सम्पर्कबाट टाढा राखिएकी छन्। परिवारले उनको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै आएको छ।

यसैबीच, मिन आङ ह्लाइङले उनका निकट सहयोगी तथा पूर्वराष्ट्रपति विन मिन्टलाई पनि हालै क्षमादान दिएका छन्, जसलाई राजनीतिक संकेतका रूपमा हेरिएको छ।

बल्खु सुकुम्बासी बस्तीमा चल्न थाल्यो डोजर (तस्वीरहरू)

काठमाडौं। सरकारले बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको छ ।आज शुक्रबार सरकारले बागमती करिडोर अन्तर्गत बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो ।

   

 

सात जना पक्राउ

काठमाडौं। आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा सात जना पक्राउ परेका छन्।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार जापान, कोरिया र अमेरिकामा उच्च तलबको रोजगारी मिलाइदिने भन्दै ४५ जनाबाट करिब तीन करोड १४ लाख रुपैयाँ ठगी गरेको आरोपमा उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा तेह्रथुमका सुरज लिम्बू, सोलुखुम्बुका कमलबहादुर मगर र सागर शेर्पा, काभ्रेपलाञ्चोकका विनोद थापा, सूर्यप्रसाद कोइराला, सरोज गौतम र प्रल्हाद खत्री रहेका छन्।

प्रहरीका अनुसार लिम्बू र मगरले जापान पठाइदिने भन्दै ११ जनाबाट एक करोड दुई लाख रुपैयाँ असुलेका थिए। त्यसैगरी, थापाले कोरिया पठाइदिने भन्दै २६ जनाबाट एक करोड ५० लाख रुपैयाँ ठगी गरेका छन्।

यस्तै, शेर्पाले फ्रान्स पठाउने भन्दै पाँच जनाबाट २८ लाख रुपैयाँ र गौतमले एक जनाबाट २७ लाख रुपैयाँ असुलेको खुलेको छ।

प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको जनाएको छ।

बुद्ध जयन्तीको अवसरमा बालेनले भने – ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’

काठमाडौं। २५७० औँ बुद्ध जयन्तीको अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली तथा बौद्धमार्गीहरूमा शुभकामना व्यक्त गरेका छन्।

बुद्ध जयन्तीको अवसरमा सन्देश जारी गर्दै उनले साँचो परिवर्तनको आधार ज्ञान भएको उल्लेख गर्दै भनेका छन्, ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ भनेको ज्ञान हो।’

प्रमुख शाहले गौतम बुद्धले प्रतिपादन गरेका चार आर्य सत्यको स्मरण गर्दै मानव जीवनमा ज्ञानको मार्ग नै दुःख निवारणको सही उपाय भएको बताएका छन्। उनले भने, ‘बुद्धले भन्नुभयो– दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ र दुःख निवारण गर्ने मार्ग छ। बुद्धले देखाउनुभएको बाटो नै वास्तवमा दुःख निवारणको मार्ग हो।’

ज्ञानको महत्त्वलाई थप प्रष्ट पार्दै उनले उज्यालो र अँध्यारोको उदाहरण प्रस्तुत गरे। ‘उज्यालोको अभाव नै अँध्यारो हो। जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ,’ उनले भने, ‘हाम्रो यात्रा पनि ज्ञानको उज्यालोको खोज र समस्या निवारणको मार्गमा केन्द्रित हुनुपर्छ।’

नेपाल बुद्धको जन्मभूमि भएको उल्लेख गर्दै उनले बुद्धका शान्ति, अहिंसा र करुणाका शिक्षालाई विश्वभर फैलाउनुपर्नेमा जोड दिएका छन्।

अन्त्यमा उनले बुद्ध जयन्तीले सम्पूर्ण मानव समुदायमा शान्ति, सहिष्णुता र सद्भावको सन्देश फैलाओस् भन्ने कामना गरेका छन्।

२५ दिने ‘एसईई रोबो बुटक्याम्प २०८३’ सञ्चालन, यसरी सहभागी हुनुहोस्

काठमाडौ‌ं। रोबोटिक्स शिक्षा प्रदायक कम्पनी ‘रोबोआरम्भ’ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि २५ दिने ‘एसईई रोबो बुटक्याम्प २०८३’ सञ्चालन गर्ने भएको छ। आगामी ३ जेठदेखि सुरु हुने कार्यक्रमका लागि अनलाइन आवेदन खुला गरिएको छ।

रोबोटिक्स र इन्टरनेट अफ थिङ्स (आइओटी) क्षेत्रमा रुचि भएका विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम ल्याइएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल कोइरालाका अनुसार विज्ञहरूले प्रत्यक्ष प्रशिक्षण दिने यो कार्यक्रमले नयाँ पुस्तालाई आधुनिक प्रविधिसँग जोड्ने र प्रयोगात्मक सीप विकास गर्ने लक्ष्य राखेको छ।

दैनिक दुई घण्टाका दरले कुल ५० घण्टा सञ्चालन हुने बुटक्याम्पमा विद्यार्थीहरूले रोबोटिक्सका विभिन्न पक्षहरू सिक्नेछन्। पाठ्यक्रमलाई बेसिक रोबोटिक्स १६ घण्टा, आइओटी १४ घण्टा, एप्लाइड एआई तथा एज सिस्टम १४ घण्टा र साइबर हाइजिन ६ घण्टामा विभाजन गरिएको छ।

कार्यक्रमका लागि कुल आवेदकमध्ये १६ जना विद्यार्थी मात्र छनोट गरिनेछ। इच्छुक विद्यार्थीले अनलाइन फारममार्फत आवेदन दिनुपर्नेछ।

यस बुटक्याम्पको शुल्क प्रतिविद्यार्थी १६ हजार रुपैयाँ तोकिएको छ, जसमा प्रशिक्षण, खाजा र रोबोटिक्स किटको खर्च समेत समावेश छ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा विद्यार्थीहरूले प्रशिक्षणका क्रममा आफैंले निर्माण गरेको रोबोटिक किट बुटक्याम्प सकिएपछि घर लैजान पाउनेछन्। कम्पनीका सीईओ कोइरालाका अनुसार, उद्देश्य विद्यार्थीले प्रविधिको स्पष्ट बुझाइसहित आफ्नै उत्पादन लिएर घर फर्कन सकून् भन्ने हो।

तालिम काठमाडौँको तीनकुनेस्थित रोबोआरम्भ ल्याबमा अनुभवी इन्जिनियर तथा प्राविधिक टोलीको प्रत्यक्ष निगरानीमा सञ्चालन हुनेछ। साथै, विद्यार्थीहरूलाई ललितपुरको बालकुमारीस्थित जीबीएस रिसर्च एन्ड डेभलपमेन्ट ल्याबको भ्रमण गराइनेछ, जहाँ उनीहरूले नेपालमा रोबोटिक्स उत्पादनको व्यावहारिक प्रक्रिया प्रत्यक्ष बुझ्ने अवसर पाउनेछन्।

‘इल्लुमिनाटी’- के संसार चलाइरहेछ?

‘इल्लुमिनाटी’ एक यस्तो विषय हो, जुन रहस्य र विवादले घेरिएको छ। यो एक गोप्य संगठनको रूपमा चिनिन्छ, जसलाई केही मानिसहरूले संसारका सबैभन्दा शक्तिशाली संस्थाहरू मध्ये एक मान्छन् ।  इल्लुमिनाटीका बारेमा धेरै मिथक सिद्धान्त र कथाहरू छन्, जसले  इल्लुमिनाटीलाई अझै रहस्यमय बनाउँछ। 

इल्लुमिनाटीको बारेमा धेरैले सुनेको हुनसक्छ।  इल्लुमिनाटीको बारेमा समय–समयमा मानिसहरूमा भ्रम फैलाइन्छ, तर वास्तवमा इल्लुमिनाटी छ वा छैन भन्ने कुरा पुष्टि भएको छैन ।

यस संगठनको सुरुवात जर्मनीको बाभेरिया सहरबाट भएको मानिन्छ । एक प्रसिद्ध प्रोफेसर तथा दार्शनिक एडम वीशाउप्टले यसको आधारशिला राखेका थिए। 

पढाइपछि एडम प्रोफेसर बनेर युनिभर्सिटी अफ इन्गोलस्टाटमा अध्यापन गर्न थाले। सामान्य जीवन बिताइरहेका विवाहित प्रोफेसर भित्रभित्रै के गरिरहेका थिए भन्ने कुरा कसैलाई थाहा थिएन।

एडमलाई विश्वास थियो कि चर्च र क्याथोलिक विचारका कारण समाज स्वतन्त्र रूपमा बाँच्न सकिरहेको छैन। यही कारण उनले धर्मका बन्धनबाट मुक्त एउटा समाज बनाउने योजना बनाए। त्यसैसँगै इल्लुमिनाटी नामक सिक्रेट समूहको स्थापना भयो। 

मे १७७६ मा  इल्लुमिनाटीको पहिलो मिटिङ भयो, जसमा प्रोफेसरसहित युनिभर्सिटीका ५ जना सदस्य थिए भन्ने मिथ छ । छिट्टै यसको सदस्य संख्या बढ्दै गयो। सन् १७८४ सम्म आइपुग्दा करिब यसमा ३००० सदस्य पुगे।

सुरुमा इल्लुमिनाटीलाई हानिरहित संगठन मानिएको थियो, तर पछि यसको अनौठा विचारहरू बाहिर आउन थाले।  कठिन परिस्थितिमा सुसाइड उचित विकल्प हो भन्ने वैचारिकी संगठनले विकास गर्दै थियो।  यसका सदस्यहरूले गल्ती गर्नेहरूलाई डेथ पेनाल्टी दिनुपर्छ भन्ने मान्यता राख्थे। साथै, धर्ममा विश्वास गर्नेहरूलाई मूर्ख मानिन्थ्यो र उनीहरूलाई सजाय दिनुपर्ने भनिन्थ्यो। यस्ता कुराहरू सार्वजनिक भएपछि यस संगठनमाथि नियन्त्रण गर्न थालियो।

छानबिनका क्रममा इल्लुमिनाटीका सदस्यहरूको घरबाट गोप्य रूपमा प्रयोग गरिने इन्भिजिबल इन्क बरामद गरिएको थियो। उक्त इन्भिजिबल इन्कआपत्तिजनक सामग्री फैलाइन्थ्यो। त्यो क्रममा सुसाइडलाई प्रोत्साहन गर्ने लिटरेचर तथा विभिन्न एजेन्डासम्बन्धी कागजातहरू पनि फेला परेका थिए। 

त्यतिबेला विश्वका धेरै देशहरूमा एबोर्शन प्रतिबन्धित थियो। तर यस संगठनसँग एबोर्शनलाई प्रोत्साहन गर्ने सामग्री र उपकरणहरू समेत भेटिएको बताइन्छ। त्यसपछि सरकारले  इल्लुमिनाटी संगठनमा संलग्न हुनेहरूलाई मृत्युदण्डसम्मको सजाय दिने आदेश जारी गर्‍यो।

संगठनका फाउन्डर एडमलाई युनिभर्सिटीबाट निकालियो। पछि उनले अन्यत्र अध्यापन गर्दै अपेक्षाकृत शान्त जीवन बिताए। तर त्यसपछि पनि संसारभर हुने विभिन्न हत्या वा घटनाहरूका पछाडि यही सिक्रेट समूहको हात रहेको भन्ने विश्वास गरिन्थ्यो।

सन् १९६३ मा अमेरिकाका प्रेसिडेन्ट जोन एफ केनेडीको हत्या पछाडि पनि यसै संगठनको संलग्नता रहेको दाबी गरिन्छ। २२ नोभेम्बर १९६३ मा भएको उक्त हत्या आजसम्म पनि अमेरिकी इतिहासको ठूलो रहस्य बनेको छ।

विभिन्न अनुसन्धान भएपनि वास्तविक दोषी को हो भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन। हत्या हुनुअघि एक सस्पिसियस महिलालाई हातमा क्यामेरा जस्तो पिस्टल बोकेको अवस्थामा देखिएको भनिन्छ।  जो घटना लगत्तै गायब भइन्। 

आजसम्म पनि ती महिला को थिइन्, कहाँबाट आएकी थिइन् भन्ने कुरा पत्ता लागेको छैन। केही संगठनहरूको विश्वास अनुसार गोप्य रूपमा सञ्चालन भइरहेको इल्लुमिनाटी समूह नै यस घटनाको कारण हुन सक्छ। र, त्यो रहस्यमयी महिला पनि  इल्लुमिनाटीसँग सम्बन्धित थिइन्।

अहिलेपनि इल्लुमिनाटीलाई षड्यन्त्रकारी संगठनका रूपमा प्रसिद्ध मानिन्छ। यसलाई नयाँ विश्व व्यवस्थाको संकेत मानिन्छ। र, यथेष्ट आधार पुष्टि नभएपनि यसैले नयाँ विश्व व्यवस्था परिवर्तनको गहिरो तयारी गरिरहेको बताइन्छ। 

धेरै देशहरूमा सरकार तथा विभागहरूलाई अदृश्य रूपमा  इल्लुमिनाटीले सञ्चालन गर्छ भन्ने मान्यता छ। सबै निर्णयहरू यस्तो रूपमा संचालित हुन्छन्, जसले व्यवस्था परिवर्तनको संकेत दिन्छ। 

इल्लुमिनाटी आफ्ना सबै एजेन्डा गोप्य रूपमा चलाउँछ। धेरै ठूला सेलिब्रिटी, सरकारहरू तथा विभिन्न संस्थाहरूले यस्ता गोप्य एजेन्डाहरूलाई पछ्याउँछन् भन्ने  समेत भनाइ छ।

इल्लुमिनाटीसँग सम्बन्धित मानिसहरू शैतानका पूजक हुन्छन् भनिन्छ। इल्लुमिनाटी बाफोमेट, लुसिफर र शैतानलाई आफ्नो भगवान मान्छन्।  जो मानिसहरू इल्लुमिनाटीका सदस्य हुन्छन्, उनीहरूले आफ्नो आत्मा शैतानलाई बेचिदिन्छन्। बदलामा उनीहरूलाई प्रसिद्धि र उनीहरूले चाहेका सबै कुरा प्राप्त हुन्छ।  

यस संगठनका सदस्यहरूले समय-समयमा प्रतीकहरूको माध्यमबाट आफू इल्लुमिनाटीसँग जोडिएको संकेत दिन्छन्।  सेलिब्रिटीहरूले छोटो समयमा प्रसिद्धि प्राप्त गरे भने इल्लुमिनाटीकै कारण  पाएको  मानिन्छ। यी कलाकारहरूले आफ्नो प्रस्तुति वा काममा इल्लुमिनाटीका प्रतीकहरूको प्रयोग गर्छन्। यी प्रतीकहरूमा हातले ट्रायाङ्गल बनाउने, आँखाको चिन्ह, ६६६ नम्बर र बाफोमेटको संकेत आदि समावेश छन्। 

धेरै लेखक र विशेषज्ञहरूले यसबारे धेरै लेख प्रकाशित गरेका छन्। धेरै देशहरूमा यस्ता समूहहरू रहेको मानिन्छ। हलिउडको म्युजिक इन्डस्ट्री पनि यसबाट अछुतो छैन।  धेरै पप स्टारहरू यसका सदस्य छन्। र, यसको एजेन्डामा काम गर्छन्। साथै, हलिउडका धेरै फिल्महरू इल्लुमिनाटीबाट प्रभावित भएर बनाइएका छन्।

‘घोस्ट राइडर’ फिल्ममा नायकले आफ्नो आत्मा बेचेर अरूको आदेशमा काम गर्छ भन्ने देखाइएको छ। भनिन्छ- इल्लुमिनाटीका मानिसहरू आफ्नो पहिचान लुकाएर वा भूमिगत बंकरहरूमा बसेर संसार चलाउने प्रयास गरिरहेका छन्।

आजको इन्टरनेट युगमा यस्ता धेरै भिडियो र लेखहरू देखाइन्छ। जसमा सेलिब्रिटी र नेताहरूलाई इल्लुमिनाटीसँग जोडेर देखाइन्छ। केहीले त केही सेलिब्रिटीहरूले आफू इल्लुमिनाटीका सदस्य भएको स्वीकार गरेको दाबी गर्छन्, तर यसको कुनै आधिकारिक पुष्टि छैन। साथै, केही व्यक्तिहरूलाई इल्लुमिनाटीले बनाएको र नमान्दा उनीहरूको हत्या गरिएको पनि भनिन्छ, तर यो पनि प्रमाणित छैन।

भनिन्छ, यसका सदस्यहरू साधारण व्यक्ति हुँदैनन्। यो संगठनले आफैं योग्य व्यक्तिहरू छनोट गर्छ। जो समाजमा यति प्रभावशाली हुन्छन् कि उनीहरूलाई देखेर धेरै मानिसहरू आकर्षित हुन्छन्। उनीहरूको प्रसिद्धि प्राप्त गर्न चाहन्छन्।

यो संगठनले मानिसहरूलाई आफैं बोलाएर सदस्य बनाउँछ। जो चाह्यो त्यस्तो सजिलै यसमा प्रवेश गर्न सक्दैन।

एन्जल्स एन्ड डेमन्स जस्ता हलिउड फिल्महरूमा इल्लुमिनाटीको बारेमा धेरै कुरा देखाइएको छ। यस फिल्मका अनुसार आधुनिक विज्ञानको पछाडि इल्लुमिनाटीसँग जोडिएका मानिसहरूको हात छ। महान लेखक ड्यान ब्राउन जस्ता धेरै विद्वानहरूले इल्लुमिनाटीलाई वैज्ञानिकहरूको गोप्य संस्था मान्छन्।

ड्यान ब्राउनका अनुसार इल्लुमिनाटीका लागि काम गर्नेहरूको मुख्य लक्ष्य प्राचीन संस्कृतिहरू समाप्त गरी विज्ञानलाई धर्मको रूपमा स्थापित गर्नु हो। एन्जल्स एन्ड डेमन्स (ड्यान ब्राउनको उपन्यासमा आधारित) मा ग्यालिलियो पनि इल्लुमिनाटी थिए भन्ने कुरा उल्लेख गरिएको छ।  जसले चर्चका अन्धविश्वासको विरुद्ध विज्ञान र तर्क स्थापित गर्न प्रयास गरे।

ग्यालिलियो मात्र होइन, न्यूटन, चार्ल्स डार्विन, फ्रान्सिस बेकन, विलियम शेक्सपियर, रकफेलर, रोथसचाइल्ड, कार्ल मार्क्स, एडम वीशाउप्ट र विश्वभर फैलिएका फ्रीमेसन जस्ता धेरै व्यक्तिहरूलाई इल्लुमिनाटीका लागि काम गर्ने मानिन्छ, जसले संसारको सोच परिवर्तन गरेका थिए।

अन्तत: ‘इल्लुमिनाटी’ बारेका अधिकांश धारणा र कथाहरू रहस्य, किम्वदन्ती र कन्स्पिरेसी थ्योरीमा आधारित देखिन्छन्। यसको ऐतिहासिक अस्तित्वको केही आधार भए पनि आजको समयमा यसले विश्व नियन्त्रण गरिरहेको भन्ने दाबीहरू प्रमाणित भएका छैनन्। यद्यपि, यस विषयले मानिसहरूको जिज्ञासा, डर र कल्पनालाई निरन्तर प्रभावित गरिरहेको छ।

डीएलएसमा नेपाल ब्लुको रोमाञ्चक जित

काठमाडौं । नेपाल ब्लुले तेस्रो तथा अन्तिम अभ्यास खेलमा नेपाल रेडविरुद्ध डीएलएस (डकवर्थ–लुइस–स्टर्न) आधारमा दुई विकेटको रोमाञ्चक जित निकालेको छ।

यो अभ्यास शृंखलामा नेपाल ब्लुको पहिलो जित हो। यसअघि भएका दुई खेलमा नेपाल रेडले क्रमशः चार रन र एक विकेटको जित हासिल गरेको थियो।

बिहीबार मूलपानी क्रिकेट मैदानमा वर्षाले प्रभावित खेलमा नेपाल ब्लुले ४५ ओभरमा २७२ रनको संशोधित लक्ष्य पाएको थियो। उक्त लक्ष्य टोलीले पाँच बल बाँकी रहँदा आठ विकेट गुमाएर पूरा गर्‍यो।

नेपाल ब्लुका सन्तोष यादवले ७६ रनको उत्कृष्ट पारी खेले। पवन सर्राफले ५० र रुपेश सिंहले अविजित ४९ रन बनाए भने नारायण जोशीले ४२ रनको योगदान दिए।

नेपाल रेडका लागि विशाल पटेलले सर्वाधिक तीन विकेट लिए। शेर मल्ल, अभिषेक गौतम र कुशल मल्लले समान एक–एक विकेट हात पारे।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल रेडले ४९.२ ओभरमा सबै विकेट गुमाएर २७९ रन बनाएको थियो। तृतराज दासले १२५ रनको शतकीय इनिङ खेले भने दीपक डुम्रेले ४३, शुभ कंसकारले ३५ र शंकर रानाले २० रन जोडे।

नेपाल ब्लुका नारायण जोशीले सर्वाधिक चार विकेट लिए। प्रकाश जोशीले तीन विकेट लिँदा शहाब आलमले दुई र पवन सर्राफले एक विकेट लिए।

जिप दुर्घटना : १७ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । थवाङ गाउँपालिका-१ जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।

रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप भीरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा परेकाहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार जिपमा सवार सबै १७ जनाले ज्यान गुमाएका हुन्।

हाल घटनास्थलमा घाइतेहरूको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।

 करोडौं ठग्ने दुई जना पक्राउ

काठमाडौं। आकर्षक तलबमा जापान पठाइदिने भन्दै करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा तेह्रथुम घर भई हाल काठमाडौं बस्ने ४० वर्षीय सुरज पंधाक लिम्बु र सोलुखुम्बु घर भई काठमाडौं बस्ने कमलबहादुर पुलामी मगर रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनीहरूले ‘निको प्रोजेक्ट’ अन्तर्गत जापानमा गुम्बा निर्माणका लागि कामदार लैजाने भन्दै २५० जनाभन्दा बढीलाई ठगी गरेको आरोप छ।

प्रहरीका अनुसार प्रतिव्यक्ति १४ लाख रुपैयाँ लाग्ने भन्दै रकम असुल गरी पछि सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्।

हाल पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

रणवीर सिंह ‘डन ३’बाट बाहिरिएपछि विवाद,गालीगलौजबारे के हो कुरो ?

एजेन्सी। बलिउड अभिनेता रणवीर सिंहले निर्देशक फरहान अख्तरको बहुप्रतिक्षित फिल्म ‘डन ३’ छाडेपछि फिल्मबारे विभिन्न अफवाह र चर्चाहरू तीव्र भएका छन्।

मिडिया रिपोर्टहरूका अनुसार रणवीरले फिल्ममा गालीगलौज र अत्यधिक हिंसात्मक दृश्य समावेश गर्न चाहेको बताइएको छ। जसमा फरहान अख्तर सहमत नभएपछि दुईबीच रचनात्मक मतभेद उत्पन्न भएको दाबी गरिएको छ। करिब तीन वर्षअघि सुरु भएको यो परियोजना हाल अनिश्चित अवस्थामा पुगेको बताइन्छ।

रिपोर्टमा रणवीर सिंहले ‘डन’ पात्रलाई आधुनिक समयअनुसार अझ अँध्यारो र हिंसात्मक रूपमा प्रस्तुत गर्न चाहेको उल्लेख छ। उनले दर्शकहरू यस्तो शैलीप्रति आकर्षित हुने विश्वास राखेको बताइन्छ। तर फरहान अख्तरले यस दृष्टिकोणलाई अस्वीकार गरेका थिए।

फरहान अख्तरले ‘डन’ फ्रेन्चाइजको आफ्नै शैली र गरिमा रहेको भन्दै यसमा अनावश्यक अपशब्द र अत्यधिक हिंसा उपयुक्त नहुने तर्क गरेका थिए। उनका अनुसार यसअघि अमिताभ बच्चन र शाहरुख खानले निभाएका ‘डन’ पात्र पनि स्टाइलिस र बौद्धिक अपराधीका रूपमा प्रस्तुत गरिएका थिए।  अश्लील भाषा वा अत्यधिक हिंसात्मक चरित्रका रूपमा  चित्रण नगरिएको बताएका छन्।

यही मतभेदका कारण रणवीर सिंह परियोजनाबाट बाहिरिएको र यसले फिल्म निर्माण पक्षलाई ठूलो आर्थिक तथा प्राविधिक असर पुर्‍याएको चर्चा छ। केही रिपोर्टमा करिब ४० करोड रुपैयाँसम्मको नोक्सान भएको दाबी समेत गरिएको छ।

हाल ‘डन ३’ को भविष्यबारे अनिश्चितता कायम रहेको छ भने फिल्म पुनः कहिले सुरु हुन्छ भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

पछिल्लो दशकको अर्थतन्त्रको तस्वीर

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले केही दिनअघि सार्वजनिक गरेको पछिल्लो दशकको आर्थिक श्वेतपत्रले नेपालको अर्थतन्त्रको तस्वीर देखाएको छ। राजनीतिक आरोप प्रत्यारोप, सामाजिक सञ्जालमा फैलिने निराशावादी धारणा र ‘देश खत्तम भयो’ भन्ने लोकप्रिय तर भ्रामक कथनका बीच यो श्वेतपत्रले तथ्य र यथार्थका आधारमा अर्थतन्त्रको मुहार देखाउन खोजेको छ। 

नेपालका मुख्य सूचकांकहरू विगतको एक दशकमा निरन्तर रूपमा सकारात्मक दिशातर्फ उन्मुख भएको देखिन्छ। 

रास्वपाले २०७९ को निर्वाचनमा ‘देश डुब्दैछ’, ‘सबै खत्तम छ’, ‘राजनीतिक दलहरुले सबै बर्बाद गरे’ भन्ने भाष्य निर्माण गरेर राजनीतिक समर्थन बटुलेको थियो। यही भाष्यले २०८२ को निर्वाचनमा अभूतपुर्व जनमत बटुल्न सफल बन्यो । तर विडम्बना यसै पार्टीका अर्थमन्त्रीद्वारा प्रस्तुत श्वेतपत्रले ‘देश खत्तम भयो’ भन्ने धारणा तथ्यगत रूपमा सही नभएको प्रष्ट पारिदिएको छ । 

कांग्रेस एमाले वा पुराना राजनीतिक दलहरुले भनेजस्तै  देशमा चमत्कारी प्रगति पनि भएको त छैन तर रास्वपाले चित्रण गरेजस्तो विनाश पनि भएको छैन। न अत्यन्त राम्रो, न अत्यन्त खराब- यीनै दुई भाष्यबीचको यथार्थमा अर्थतन्त्र उभिएको छ । अर्थात् वाग्लेले जारी गरेको श्वेतपत्रले देश  स्थिर सुधारतर्फ अघि बढिरहेको अवस्था उजागर गरेको छ।

यो दशक नेपालका लागि सबभन्दा चुनौतीपूर्ण दशकहरूमध्ये एक थियो। २०७२ सालको विनाशकारी भूकम्पमा देशका हजारौँ नागरिक मरे। सयौँ बस्ती ध्वस्त भए। लाखौँ मानिसलाई विस्थापित भए र हजारौँ भौतिक संरचना एकैछिनमा ढले। 

०७२ को विनाशकारी भूकम्पले अर्थतन्त्रलाई गम्भीर रूपमा हल्लाएको थियो। आर्थिक वृद्धि, जीवनस्तर, लगानी, उत्पादन क्षमता सबै क्षेत्रमा ठूलो प्रभाव पर्‍यो। 

२०७२ को असोजमा संविधान जारी भएपछि भारतले नेपालमाथि अघोषित नाकाबन्दी गर्‍यो। त्यो नाकाबन्दीले भूकम्पजस्तै कठोर प्रभाव पारेको थियो। इन्धन आपूर्ति ठप्पजस्तै भयो।  उद्योग ठप्प बने।  व्यापारिक् गतिविधि सुस्त बने।  यातायात र स्वास्थ्य सेवा प्रभावित भए। नाकाबन्दीले सामाजिक-आर्थिक गतिविधिलाई लगभग नराम्ररी प्रभावित बने । 

त्यसको केही वर्षपछि २०१९/२० मा कोरोना महामारी संसारभरि फैलियो। महामारीले पुरै संसार आतंकित थियो । पुरै विश्व आतंकित थियो। 

महामारी कै प्रभावहरु नेपालको अर्थतन्त्रमा देखिन थाले। पर्यटन क्षेत्र पूर्ण रूपमा रोकियो।  व्यापार क्षेत्र नाकाबन्दीले ध्वस्त बनिसकेको थियो। महिनौँ सम्म उद्योग बन्द रहनुले रोजगारी घट्यो र राजस्व खुम्चियो । 

महामारीले विश्व कै आर्थिक संरचना हल्लिएको थियो। त्यो कहरमा नेपालजस्तो मुलुक  प्रभावित हुनु स्वाभाविक नै थियो। गम्भीर संकटका बाबजुद पनि नेपालले आधारभूत विकास र आर्थिक सूचकांकलाई सकारात्मक राख्न सफल भएको तथ्यले नेपाल खत्तम भएको थिएन भन्ने कुरा उजागर गर्छ।  

यो दशकभरि नेपालले ठुलो आर्थिक सामाजिक प्रगति हासिल गरेको छ । जसलाई देश बर्बाद छ भनेर सत्तामा पुगेका अर्थमन्त्रीको श्वेतपत्रले प्रमाणित गर्दछ।  

पछिल्लो १० वर्षमा प्रतिव्यक्ति आय ७ सय अमेरिकी डलरबाट बढेर  १४ सय ४ डलर पुगेको छ। यो वृद्धि राजनीतिक अस्थिरता, विपत्ति र संक्रमणकालका बीच हासिल गरिएको उल्लेखनीय उपलब्धि हो। आर्थिक वृद्धि औसत ४.२ प्रतिशत रहनु पनि स्थिर अर्थतन्त्रको सूचक हो। ०७२ मा आर्थिक वृद्धि २ प्रतिशत को आसपास रहने गर्थ्यो। 

यही दशकमा सरकारले खर्च गर्ने बजेटको आकार दशकमा तीन गुणाले वृद्धि भएको छ, जसले अर्थतन्त्रको संरचनात्मक वृद्धि र सरकारी क्षमता विस्तार भएको सङ्केत गर्छ।

विद्युत क्षेत्रमा नेपालले यही दशकमा ठुलो उपलब्धी हासिल गरेको छ । २०६८ मा विद्युत उत्पादन ६ सय ९७ दशमलव ८५ मेगावाटथियो।  तर पछिल्लो दशकमा ४ हजार १ सय ५ मेगावाट विद्युत उत्पादन भइरहेको छ। अहिले नेपाल विद्युत आपूर्तिमा आत्मनिर्भर मात्रै होइन, निर्यात गर्ने अवस्थामा पुगेको छ। 

अर्को महत्वपूर्ण उपलब्धी हासिल गरिएको क्षेत्र हो- स्वास्थ्य क्षेत्र। यो अवधिमा मातृ मृत्युदर ५३९ बाट घटेर १५१ मा आएर उभिएको छ। बाल मृत्युदर ११८ बाट ३३, शिशु मृत्युदर ७८ बाट २८ मा झरेको छ। २०७१ को सर्वेक्षणले एकजना चिकित्सकले ३९ सय ७५ जना बिरामी हेर्नुपर्थ्यो।  तर अहिले त्यो झरेर ७ सय ३५ मा पुगेको छ। 

सरकारी स्वास्थ्य संस्था ४ हजार ४ सय ८५ बाट बढेर ८ हजार ७ सय ४६ पुगेका छन्। सरकारी अस्पतालमा शैयाको संख्या ७ हजार ५ सय ५० बाट १८ हजार ६ सय ४० पुगेको छ। स्वास्थ्य पूर्वाधार, सेवा र जनशक्ति सबैमा दोब्बरभन्दा बढी वृद्धि हुनु नेपालका लागि अत्यन्त प्रशंसनीय उपलब्धि हो। शिक्षा र मानव विकास सूचकांकमा पनि नेपालले उल्लेखनीय सुधार गरेको छ। साक्षरता दर ५७ प्रतिशतबाट ७६ प्रतिशतमा पुगेको छ। औसत आयु ५७ वर्षबाट ७१ वर्षमा पुगेको छ । 

यही दशकमा कृषिको आधुनिकीकरण, उर्वरता सुधार, प्रविधि प्रयोग र संरचनामा सकारात्मक हस्तक्षेप भएको छ। सिचाई नहरहरु बन्दैछन्। तुलनात्मक रुपमा धानको उत्पादन ३ दशमलव १५ टन प्रतिहेक्टरबाट ४ दशमलव १९ टनमा पुग्दा गहुँ २ दशमलव ५० बाट ३ दशमलव ४६ टनमा र मकै २ दशमलव ३३ बाट ३ प्रतिशतमा टनमा पुग्नुले कृषी उत्पादनको क्षेत्रलाई पनि सकारात्मक उर्जा प्रदान गरेको छ । 

पूर्वाधार र प्रविधिको विकासका दृष्टिकोणले यो दशक नेपालका लागि महत्वपुर्ण दशक हो । विभिन्न ठाउँमा ठुला ठुला प्रोजेक्टहरु अहिलेपनि निर्माणाधीन अवस्थामा छन्। आईटी, एआई लगायतका प्रविधिको क्षेत्रका बहसहरु यही समयमा सुरु भएका छन्। देशका सबै जिल्ला अहिले सडक सञ्जालसँग जोडिएका छन्।  यो देशको भौतिक विकासको लागि महत्वपूर्ण खुड्किलो हो।  मान्छेहरुले बह्न्ने गर्छन् सडकले विकास हुन्छ र? तर यथार्थ सडक नभएर चाहिँ विकास सम्भव हुँदैन। 

नेपालमा इन्टरनेटको पहुँच लगभग सबै बस्तीसम्म पुगेको छ। २०६६/६७ ताका प्राय: ग्रामिण भूभागका जनता टेलिफोनसँग पनि साक्षात्कार गर्न नपाउने स्थिति थियो।  तर देशका अधिकांश टोलमा इन्टरनेटको सुविधा विस्तार भएको छ।  यो प्रविधिको क्षेत्रमा नेपालका लागि महत्वपूर्ण उपलब्धी हो। 

अहिले देशमा ११ सय अर्ब भन्दा बढी राजस्व संकलन हुन्छ।  तर अहिलेभन्दा ११ वर्ष अगाडि यो आँकडा ४ सय अर्बमा संकुचित थियो। 

माथिका केही सुचाकाङ्क देश खतरै बनेको रहेछ भन्ने आधार भने पक्कै होइनन्। देशमा सुशासन, पारदर्शिता, सामाजिक न्याय लगायतका सुचाकाङ्कमा जति काम हुनुपर्थ्यो, हुन सकेन । तर अर्थमन्त्रीले सार्वजनिक गरेको श्वेतपत्रले निराशा र भ्रमको प्रचार गर्दै हिन्नेहरुलाई भने गहिरो झापड परेको हुनुपर्छ।  

तथ्य नहेरी, भावना र क्रोधमा आधारित भीडको मनस्थितिले महत्वपूर्ण हाम्रो संरचनाहरू नष्ट हुँदै गइरहेको छ । यसरी अध्ययन नगर्ने, सुनेको पत्याउने, भावनामा विश्वस्त हुने मानसिकता समाजका लागि दीर्घकालीन चुनौती हो।

पछिल्लो एक दशकमा नेपालले गम्भीर संकटहरूको सामना गर्दै पनि स्थिर आर्थिक सुधार हासिल गरेको छ। राजनीतिक आरोप–प्रत्यारोपले चित्रण गरिएजस्तो देश विनाशको बाटोमा छैन। तर चमत्कारी प्रगति भएको दाबी पनि वास्तविकताबाट टाढा छ। नेपालले पछिल्लो दशकमा सम्भावनाभन्दा बढी उपलब्धि हासिल गरेको कुरा निराशावादी भाष्यको छायामा पनि तथ्यले स्पष्ट गर्छ ।

‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा आएको छ। मुलुकको सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ प्राधिकरणले सहायक कम्पनी सञ्चालनमा ल्याएको हो।

गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा, दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रको मेरुदण्ड बन्ने लक्ष्यका साथ यो कम्पनीले आफ्नो कार्य आरम्भ गरेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए।

शाक्यका अनुसार ‘पूर्वाधार साझा गर्ने अवधारणा’मा आधारित यो कम्पनीले सहरी सुन्दरता बढाउने, दुर्गम क्षेत्रमा इन्टरनेट पहुँच विस्तार गर्ने र सूचना प्रविधि प्रणालीको एकीकृत विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ।

कम्पनीले इन्टरनेट सेवा प्रदायकहरूलाई ‘प्लग-एण्ड-प्ले’ मोडलमा पूर्वाधार उपलब्ध गराउनेछ। यस व्यवस्थाले सेवा प्रदायकहरूले आफ्नै पोल गाड्ने वा तार टाँग्ने झन्झटबाट छुटकारा पाउनेछन्।

प्राधिकरणको पूर्वाधार प्रयोग गर्दा सेवा प्रदायकहरूको पूँजीगत खर्च उल्लेख्य रूपमा घट्ने र त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले सस्तो इन्टरनेटको रूपमा पाउने अपेक्षा गरिएको छ।

त्यसैगरी कम्पनीले प्राधिकरणसँग रहेका अप्टिकल फाइबर, भूमिगत डक्ट र पोलहरूलाई ‘प्यासिभ एसेट्स’ का रूपमा भाडामा उपलब्ध गराउनेछ। काठमाडौं उपत्यकामा देखिने तारको अव्यवस्था हटाउन पनि यो कम्पनीले प्राथमिकताका साथ काम गर्ने जनाएको छ।

शाक्यले भने, “भूमिगत पाइपको साझा प्रयोगले शहरी सौन्दर्य फर्काउने मात्र होइन, विद्युत् र टेलिफोनका तारहरू आपसमा अल्झिँदा हुने आगलागी र दुर्घटनाको जोखिम पनि घट्नेछ। अब हरेक कम्पनीले छुट्टाछुट्टै सडक खन्नुपर्ने झन्झट अन्त्य हुनेछ।”

उनका अनुसार अब प्रतिस्पर्धा पूर्वाधारमा नभई सेवाको गुणस्तरमा हुनुपर्नेछ। सरकारले देशका प्रत्येक घरधुरीमा डिजिटल कनेक्टिभिटी पुर्‍याउने लक्ष्यअनुसार यो कदम महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

महाबिरले खोजेको मन्त्रालयको नाम जुर्यो, दोश्रो पटक सपथको सम्भावना बलियो

काठमाडौं ।  प्रतिनिधि सभा सदस्य महावीर पुन मन्त्री बन्ने चर्चा सुरु भएको छ। स्रोतका अनुसार उनले आफ्नो मनपर्ने मन्त्रालय पाउन सक्रिय रूपमा प्रयास गरिरहेका छन्।

सरकारले मन्त्रालयहरूको संरचना पुनःनामांकन र कार्यक्षेत्र निर्धारण गर्ने क्रममा केही आर्थिक र प्राविधिक क्षेत्रको जिम्मेवारी महाबिरले लिने सम्भावना बढेको राजनीतिक विश्लेषकहरूको भनाइ छ। उनी लगातार आफ्नो निकट वृत र नेताहरूबीच मन्त्रालयको विषयमा ‘अनुकूल वातावरण’ बनाउन खोजिरहेको देखिन्छ।

मन्त्रालय नामसहित संरचना परिवर्तनको प्रक्रिया अन्तिम चरणमा पुगेपछि पुनले मन्त्री पदको शपथ पुनःग्रहण गर्ने सम्भावना बलियो बन्दै गएको छ। यदि मन्त्रालयको नाम परिवर्तन र संरचना पुनर्गठन सरकारकै मनसुबाअनुसार टुंगो लाग्यो भने महाबिर दोश्रो पटक सत्तारोहण गर्न सक्ने अनुमान गरिएको छ।

सरकारद्वारा मन्त्रालय पुनर्संरचनाको तयारी

काठमाडौं। संघीय सरकारले प्रशासनिक खर्च कटौती गर्दै कार्यसम्पादनलाई चुस्त र प्रभावकारी बनाउन मन्त्रालयहरूको संख्या घटाउने तथा केही मन्त्रालयको नाम र कार्यक्षेत्रमा व्यापक हेरफेर गर्ने तयारी अघि बढाएको बिषय अहिले व्यापक चर्चामा छ।

सरकारको आन्तरिक गृहकार्यअनुसार हाल कायम रहेका केही मन्त्रालयलाई गाभ्ने र केहीको नाम परिवर्तन गरी कार्यक्षेत्र परिमार्जन गर्ने योजना रहेको जनाइएको छ।

कार्य प्रकृति मिल्ने मन्त्रालयहरूलाई एकीकृत गर्ने र समयअनुकूल नामाकरण गर्ने तयारी गरिएको जनाइएको छ।

प्रस्तावित नयाँ संरचनाअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नाम परिवर्तन गरी ‘कृषि तथा भूमि व्यवस्था मन्त्रालय’ राखिनेछ। यसले भूमि सम्बन्धी मुद्दा र कृषि क्षेत्रलाई एकीकृत रूपमा हेर्ने अपेक्षा गरिएको छ।

त्यस्तै, वन तथा वातावरण मन्त्रालयलाई जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई ध्यानमा राख्दै ‘वन पर्यावरण तथा जलवायु मन्त्रालय’ बनाइने तयारी छ।

सामाजिक क्षेत्रतर्फ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई थप विस्तारित दायरा दिने उद्देश्यसहित ‘लैङ्गिक मामिला तथा समावेशीकरण मन्त्रालय’ नामाकरण गर्ने प्रस्ताव अघि सारिएको छ।

स्वास्थ्य क्षेत्रमा पनि ठूलो परिवर्तन प्रस्ताव गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ बनाइ नागरिक स्वास्थ्यसँगै खाद्य सुरक्षालाई पनि एउटै संयन्त्रमा ल्याउने तयारी गरिएको छ।

पूर्वाधार विकासतर्फ भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र खानेपानी मन्त्रालयलाई गाभेर एउटै शक्तिशाली ‘पूर्वाधार मन्त्रालय’ बनाउने प्रस्ताव अघि सारिएको छ।

त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ‘नवप्रवर्तन’ शब्द थपेर ‘उद्योग वाणिज्य तथा नवप्रवर्तन मन्त्रालय’ बनाउने तयारी छ।

शिक्षा क्षेत्रमा पनि पुनर्संरचना प्रस्ताव गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अब ‘शिक्षा तथा खेलकुद मन्त्रालय’ को रूपमा रूपान्तरण गर्ने योजना रहेको जनाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्णस्तरको आपतकालीन अभ्यास सम्पन्न(तस्बिरहरु)

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आपतकालीन अवस्थामा प्रतिक्रिया दिने क्षमतालाई अझ प्रभावकारी र व्यवस्थित बनाउन पूर्णस्तरको आपतकालीन अभ्यास सम्पन्न गरेको छ। नागरिक उड्डयन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आयोजना गरेको यस अभ्यासले आकस्मिक परिस्थितिहरूमा आवश्यक समन्वय, स्रोतसाधनको परिचालन र तत्कालीन निर्णय क्षमताको परीक्षण गरेको जनाइएको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनका मापदण्डअनुसार र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आपतकालीन योजना २०२४ (सातौं संस्करण) अनुरूप यो अभ्यास गरिएको हो। अभ्यासमार्फत विमानस्थलमा उत्पन्न हुन सक्ने सम्भावित दुर्घटना, आगलागी, विमान अवतरण समस्या, उद्धार तथा अनुसन्धान कार्यका प्रक्रियाहरूलाई परीक्षण गरिएको नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ।

अभ्यासमा सुरक्षाकर्मी, दमकल, चिकित्सक, उद्धार टोली, एम्बुलेन्स सेवा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा सम्बन्धित एजेन्सीहरूको सक्रिय सहभागिता रहेको थियो। सामूहिक समन्वय, द्रुत उद्धार प्रतिक्रिया तथा यात्रु–कर्मीको सुरक्षामा अपरेटर्सको तालमेल कति प्रभावकारी छ भन्ने मूल्यांकन यो अभ्यासको मुख्य उद्देश्य रहेको बताइएको छ।

विपद् वा आकस्मिक अवस्थाका कारण विमानस्थलमा नियमित उड्डान अवतरण प्रभावित हुँदा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि व्यावहारिक परीक्षण गरिएको थियो। अभ्यासका परिणामका आधारमा आवश्यक सुधार तथा पुनर्संरचना कार्य अघि बढाइने नागरिक उड्डयन कार्यालयले जनाएको छ।

९८ प्रतिशतसम्म माइक्रोप्लास्टिक हटाउन सकिने चमात्कारी रुख

काठमाडौं। सजिवन (मोरिङ्गा)को रुख पोषण र औषधीय गुणका लागि मात्र होइन। पानी शुद्धीकरणमा पनि अत्यन्त प्रभावकारी देखिएको छ।

ब्राजिल र बेलायतका वैज्ञानिकहरूले गरेको नयाँ अनुसन्धानले मोरिङ्गा बिउको प्रयोगले धाराको पानीमा रहेका माइक्रोप्लास्टिकहरू हटाउन सक्ने प्रमाणित गरेको हो।

अनुसन्धानअनुसार, मोरिङ्गा बिउबाट निकालिएको तत्त्वले पानीमा रहेका सूक्ष्म प्लास्टिक कणहरूलाई आपसमा टाँसिन मद्दत गर्छ, जसले गर्दा ती कणहरू फिल्टर गर्न सजिलो हुन्छ।

विशेषगरी पीभीसीजस्ता हानिकारक माइक्रोप्लास्टिकहरूलाई हटाउन यो विधि ९८ दशमलव ५ प्रतिशतसम्म प्रभावकारी देखिएको छ। यो परिणाम अहिले व्यापक रूपमा प्रयोग हुने एलुमिनियम सल्फेट जत्तिकै प्रभावकारी मानिएको छ। केही अवस्थामा अझ राम्रो नतिजा पनि देखिएको बताइएको छ।

माइक्रोप्लास्टिक अहिले विश्वव्यापी चिन्ताको विषय बनेको छ। यी सूक्ष्म कणहरू समुद्रदेखि हिमालसम्म फैलिएका छन् र खानेकुरा तथा पिउने पानीमा मिसिएका छन्। यस्ता कण मस्तिष्क, प्रजनन प्रणाली र मुटु सम्बन्धी प्रणालीसम्म पुगेको पाइएको छ।

जनावरमा गरिएको अध्ययनले हार्मोन असन्तुलन र प्रजनन समस्यासँग यसको सम्बन्ध देखाएको भए पनि मानव स्वास्थ्यमा यसको असरबारे अझै अध्ययन जारी छ।

मोरिङ्गा बिउको अर्को महत्वपूर्ण पक्ष यसको प्राकृतिक र दिगोपन हो। यो नवीकरणीय स्रोत हो. सजिलै जैविक रूपमा नष्ट हुन्छ र यसको प्रयोगले विषाक्त फोहोर कम उत्पादन गर्छ। यसले परम्परागत रसायनहरूको तुलनामा वातावरणमैत्री विकल्प प्रस्तुत गर्ने वैज्ञानिकहरूको भनाइ छ।

तर यस प्रविधिका केही सीमितता पनि छन्। एउटा मोरिङ्गा बिउले करिब १० लिटर पानी मात्र शुद्ध गर्न सक्ने भएकाले ठूलो स्तरका पानी प्रशोधन केन्द्रहरूमा यसको प्रयोग चुनौतीपूर्ण हुन सक्छ। साथै धेरै बिउ प्रयोग गर्दा पानीमा जैविक अवशेष बढ्न सक्ने जोखिम रहने भएकाले थप प्रशोधन प्रक्रिया आवश्यक पर्न सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।

सरकारले कुन कुन अध्यादेश सिफारिस गरेको छ ?

काठमाडौं ।  सरकारले राष्ट्रपति समक्ष एकैपटक छ वटा अध्यादेश सिफारिस गरेको छ। यी अध्यादेशहरू सार्वजनिक सेवा सुधार, पारदर्शिता, प्रतिस्पर्धा र प्रशासनिक प्रक्रियालाई छरितो बनाउने उद्देश्यले ल्याइएको बताइएको छ। मन्त्रिपरिषद्को २०८३ वैशाख १४ गते बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित कानुन संशोधनका लागि अध्यादेश जारी गर्न सिफारिस गरेको हो।

प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार यी अध्यादेशहरूको मुख्य उद्देश्य सार्वजनिक निकायमा हुने नियुक्ति प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धी बनाउनु हो। साथै, सार्वजनिक निर्माण कार्यलाई तीव्रता दिनु, सहकारी क्षेत्रको समस्या समाधान गर्नु र भूमि, मालपोत तथा नापी सेवाहरूलाई प्रभावकारी बनाउनु पनि यसका प्रमुख लक्ष्यहरू रहेका छन्।

पहिलो सिफारिस गरिएको अध्यादेश संवैधानिक परिषद् सम्बन्धी ऐन, २०६६ संशोधनसँग सम्बन्धित छ। यसअन्तर्गत संवैधानिक निकायका पदाधिकारी नियुक्तिको सिफारिस प्रक्रिया व्यवस्थित बनाउने, बैठक सञ्चालन विधि स्पष्ट गर्ने र निर्णय प्रक्रियामा पारदर्शिता ल्याउने उद्देश्य राखिएको छ।

दोस्रो अध्यादेश सहकारी ऐन, २०७४ संशोधनसँग सम्बन्धित छ। यसले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरूलाई कडा नियमनमा ल्याउने, सञ्चालनका लागि अनिवार्य इजाजतपत्र व्यवस्था गर्ने र समस्याग्रस्त सहकारीका बचतकर्तालाई तत्काल राहत दिन ‘चक्रवाती राहत कोष’ स्थापना गर्ने व्यवस्था समेटेको छ। यो अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरिसकेका छन्।  

तेस्रो सिफारिस विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित ऐन संशोधन हो। यसमार्फत शैक्षिक तथा स्वास्थ्य संस्थामा राजनीतिक नियुक्तिको प्रभाव घटाउने र प्रशासनिक संरचनालाई सुधार गर्ने लक्ष्य राखिएको छ।

चौथो अध्यादेश केही नेपाल ऐन संशोधन सम्बन्धी हो, जसअन्तर्गत करिब २० वटा विभिन्न ऐनहरू परिमार्जन हुनेछन्। भूमि व्यवस्थापन, नापी, मालपोत, शिक्षा, वन, स्वास्थ्य, निजामती सेवा तथा बिमा क्षेत्रका कानुनी अवरोध हटाएर सेवा प्रवाह सहज बनाउने उद्देश्य यसमा समेटिएको छ।

पाँचौं अध्यादेश सार्वजनिक पदाधिकारीसँग सम्बन्धित छ। यसले राजनीतिक रूपमा नियुक्त भई हाल कार्यरत केही पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्नेछ। सरकारी निकायमा सुधार र पुनर्संरचना गर्ने सरकारको योजना यसमा जोडिएको छ।

छैटौं अध्यादेश सार्वजनिक खरिद ऐन, २०६३ संशोधनसँग सम्बन्धित छ। यसले सार्वजनिक खरिद प्रक्रियालाई समयानुकूल, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्य लिएको छ। विकास निर्माणका कामलाई छिटो र प्रभावकारी बनाउन यसले कानुनी अवरोध हटाउने अपेक्षा गरिएको छ।

समग्रमा, सरकारले एकैपटक ल्याएको यी छ अध्यादेशलाई प्रशासनिक सुधार, सुशासन प्रवर्द्धन र सेवा प्रवाहलाई आधुनिक बनाउने व्यापक प्रयासका रूपमा हेरिएको छ।

दर्ताविहीन स्वास्थ्य संस्थामा सेवा नदिन चिकित्सकलाई काउन्सिलको चेतावनी

काठमाडौं। नेपाल मेडिकल काउन्सिलले दर्ता भएका चिकित्सकहरूलाई स्वीकृत स्वास्थ्य संस्था तथा क्लिनिकमा मात्र सेवा दिन कडा निर्देशन दिएको छ। काउन्सिलले सूचना जारी गर्दै प्रचलित कानुनअनुसार वैधानिक रूपमा दर्ता भएका संस्थामा मात्रै आबद्ध भएर सेवा प्रदान गर्न आग्रह गरेको हो।

काउन्सिलका अनुसार कुनै पनि स्वास्थ्य संस्थामा काम सुरु गर्नु अघि चिकित्सकहरूले सम्बन्धित संस्थाको दर्ता अवस्था, वैधानिकता, प्रदान गर्ने सेवाको प्रकार र सेवा दिन सक्ने क्षमता बारे स्पष्ट जानकारी लिएर मात्र संलग्न हुनुपर्नेछ। साथै, चिकित्सकले आफ्नो शैक्षिक योग्यता, दर्ता स्थिति र प्रदान गर्ने सेवाबीच सामञ्जस्य कायम गर्नुपर्नेमा पनि जोड दिइएको छ।

सूचनामा दर्ताविहीन स्वास्थ्य संस्थामा कार्य गर्नु वा त्यस्ता संस्थासँग आबद्ध हुनु पेशागत आचारसंहिता तथा कानुनको उल्लङ्घन मानिने स्पष्ट पारिएको छ। यस्तो कार्यमा संलग्न पाइएमा सम्बन्धित चिकित्सकविरुद्ध काउन्सिल ऐन तथा नियमावलीअनुसार अनुशासनात्मक कारबाही गरिने चेतावनी दिइएको छ।

काउन्सिलले पछिल्लो समय केही चिकित्सकहरू दर्ता नभएका वा मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थामा कार्यरत रहेको गुनासो बढेपछि यस्तो निर्देशन जारी गरिएको जनाएको छ। स्वास्थ्य सेवाको गुणस्तर र बिरामीको सुरक्षालाई सुनिश्चित गर्न यस्तो कदम आवश्यक भएको काउन्सिलको भनाइ छ।

काउन्सिलका रजिस्ट्रार डा. सत कुमार देवले जारी गरेको सूचनामा सबै चिकित्सकलाई नियमको कडाइका साथ पालना गर्न आग्रह गरिएको छ।

नेपाल बैंक र बीमा कम्पनीबीच कर्जा सम्झौता

काठमाडौं। नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच कर्जा कारोबार सम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार राष्ट्रिय बिमा कम्पनी लिमिटेडमा कार्यरत स्थायी कर्मचारीहरूले व्यक्तिगत आवश्यकता पूरा गर्न नेपाल बैंक लिमिटेडको काठमाडौँ बैंकिङ अफिस शाखाबाट अधिकतम १५ लाख रुपैयाँसम्म विनाधितो सेवाग्राही कर्जा लिन सक्नेछन्।

यस सुविधाबाट कर्मचारीहरूले एकै स्थानबाट आफ्ना वित्तीय आवश्यकताहरू पूरा गर्न सक्ने, समय बचत हुने तथा दुई संस्थाबीचको सहकार्य अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

बुधबार नेपाल बैंक लिमिटेडको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा बैंकतर्फबाट रिटेल कर्जा प्रमुख अर्जुनबहादुर कंडेल र राष्ट्रिय बिमा कम्पनी लिमिटेडतर्फबाट मुख्य व्यवस्थापक डा. सृजना पन्तले हस्ताक्षर गरेका थिए।

हाल नेपाल बैंक लिमिटेडले देशभर २३१ शाखा, २४६ एटीएम तथा ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा दिँदै आएको छ।

बैंकले आधुनिक प्रविधिको प्रयोग, युवा जनशक्ति र गुणस्तरीय सेवामार्फत प्रतिस्पर्धात्मक रूपमा आफ्नो उपस्थिति विस्तार गरिरहेको जनाएको छ।

ट्रम्पको मानसिक अवस्थाबारे प्रश्न उठेपछि अमेरिकी संसदमा तनाव

एजेन्सी। अमेरिकाको हाउस आर्म्ड सर्भिसेज कमिटीमा करिब ६ घण्टा लामो सुनुवाइका क्रममा रक्षामन्त्री पिट हेगसेथले सांसदहरूको कडा प्रश्नहरूको सामना गरेका छन्। सुनुवाइका क्रममा डेमोक्रेटिक सांसदहरूसँग उनको चर्को बहस समेत भएको हो।

सुनुवाइको क्रममा सांसद सारा ज्याकोब्सले राष्ट्रपति डोनाल्ड ट्रम्पको मानसिक अवस्थाबारे प्रश्न उठाएपछि राजनीतिक विवाद चर्किएको छ। उनले ट्रम्पको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा हालै गरिएका पोस्टहरूको उल्लेख गर्दै उनको अभिव्यक्तिको शैलीमाथि आलोचना गरेकी थिइन्।

त्यस क्रममा ज्याकोब्ससँगै उभिएका एक सहयोगीले ट्रम्पका पुराना पोस्टहरूको कटआउट समेत प्रदर्शन गरेका थिए। तीमध्ये येशूसँग सम्बन्धित विवादास्पद एआई–निर्मित पोस्ट पनि देखाइएको थियो, जसलाई पछि हटाइएको बताइएको छ।

गाजामा ७२ हजारभन्दा बढीको मृत्यु

काठमाडौं। सन् २०२३ अक्टोबरदेखि जारी गाजा द्वन्द्वमा हालसम्म ७२ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा कम्तीमा २ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन्।

मन्त्रालयले सन् २०२५ अक्टोबरमा युद्धविराम घोषणा भएपछि हालसम्म मात्र ८२४ जनाको मृत्यु भएको र २ हजार ३१६ जना घाइते भएको जनाएको छ।

यसैगरी, सन् २०२३ अक्टोबरदेखि सुरु भएको सम्पूर्ण द्वन्द्वमा हालसम्म ७२ हजार ६०१ जनाको मृत्यु भइसकेको छ भने १ लाख ७२ हजार ४१९ जना घाइते भएका छन्।

शेखर समूहमा सर्वोच्चको फैसला मान्ने विषयमा छलफल, १५औँ महाधिवेशन केन्द्रमा

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहमा सर्वोच्च अदालतको फैसलालाई मानेर अघि बढ्ने विषयमा छलफल भएको छ। बिहीबार नेता कोइरालाले आफ्नोपक्षीय बागमती प्रदेशस्तरीय भेला आयोजना गरेका थिए।

भेलामा देशभरका कांग्रेस केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो। सहभागी एक नेताका अनुसार निष्पक्ष रूपमा १५औँ महाधिवेशन सम्पन्न गर्ने वातावरण बनाउनुपर्ने र पार्टीलाई कमजोर बनाउने गतिविधितर्फ नलाग्नुपर्ने विषयमा जोड दिइएको थियो।

उनका अनुसार वडास्तरमै गएर क्रियाशील सदस्यता नवीकरण गर्ने प्रस्ताव व्यावहारिक नभएको धारणा अधिकांश नेताले राखेका थिए। नवीकरण प्रक्रिया यसअघि नै सम्पन्न भइसकेको दाबी समेत गरिएको थियो।

भेलामा सहभागी नेताहरूले १५औँ महाधिवेशनमा नेता शेखर कोइरालाले नेतृत्व लिनुपर्ने सुझाव दिएका थिए। तर कोइरालाले व्यक्तिगत विषयमा केन्द्रित नभई पार्टीभित्र व्यापक सुझाव संकलन गर्ने प्रतिक्रिया दिएका थिए।

बालुवाटारस्थित ओपेरा होटलमा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने कांग्रेसका पूर्वपदाधिकारी, पूर्वकेन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद तथा पूर्वसांसद, प्रदेश सांसद र प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा डा. शशांक कोइराला, बलबहादुर केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, दीपक गिरी, सञ्जय गौतम, शिव हुमागाईं, राजीव कोइराला, टेकप्रसाद गुरुङ, उमेशजंग रायमाझी, डा. गोविन्दराज पोख्रेल, किरण यादव, गणेश लामा लगायतका नेताहरू सहभागी थिए।

यसैगरी संघीय सांसदहरू डा. चन्द्रमोहन यादव, उर्मिला थपलिया र गीता देवकोटा, बागमती प्रदेशका पदाधिकारी तथा सदस्यहरू, विभिन्न जिल्लाका सभापतिहरू, प्रदेश सांसद, पूर्वसांसद तथा स्थानीय तहका जनप्रतिनिधिसहित करिब १२३ जनाको सहभागिता रहेको जनाइएको छ।

बालेन सरकारले अध्यादेशकाे बाढी ल्याउनु राम्राे सङ्‍केत हाेइन- प्रमुख विपक्षी नेता आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारकाे निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन् ।

सरकारकाे उक्त निर्णयलाई लोकतन्त्रको मर्ममाथिकाे प्रहार भन्दै आङ्देम्बेले आलोचना गरे ।

उनले भने, ‘कहिलेकाहीँ सरकारले नाडी छाम्ने प्रयास गर्छ तर लोकतन्त्रको मर्मप्रति नाडी छाम्ने गलत सोच हाे ।’ उनका अनुसार सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई प्रकाशन/प्रसारण गर्न नदिने यस्तो निर्णयले प्रेस स्वतन्त्रता र निजी सञ्चारमाध्यमको आर्थिक आधार कमजोर पार्ने खतरा हुन्छ ।

उनले यस विषयलाई नेपाली कांग्रेसले गम्भीर रूपमा लिएको र संसदभित्र तथा संसदीय समितिका बैठकहरूमा पनि प्राथमिकताका साथ उठाउने नेपाल पत्रकार महासंघको टोलीलाई बिहीबार बताए ।

सरकारी विज्ञान सरकारी सञ्चारमाध्यमलाई मात्रै उपलब्ध गराउने बालेन सरकारको निर्णयविरुद्ध नेपाल पत्रकार महासंघ आन्दोलित छ ।

आन्दाेलनकै कार्यक्रमअन्तर्गत महासंघ अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहाललगायतकाे टाेलीले नेता आङ्देम्बेलाई सरकारी विज्ञान सरकार नियन्त्रित सञ्चारमाध्यमहरुलाई मात्रै दिने सरकारकाे निर्णय खारेजकाे लागि दबाब दिन ध्यानाकर्षण गराएकाे थियाे ।
अध्यादेशकाे बाढी ल्याउनु राम्राे सङ्‍केत हाेइन

सरकारले संसद् बैठक बोलाएर स्थगित गर्दै अध्यादेशहरु ल्याएकाेमा आङ्देम्बेले चिन्ता व्यक्त गरेका छन् ।

उनले भने, ‘संसद् बैठक बोलाएर स्थगित गर्ने नाटकपछि अध्यादेशको बाढी ल्याउने प्रयास भइरहेको छ, जुन राम्रो संकेत होइन ।’

बजेटसम्बन्धी छलफलका लागि साता दिनमै संसद् बैठक बस्नुपर्ने अवस्थामा कुनै आकस्मिक वा दैवीय प्रकोपजस्तो परिस्थिति नभए पनि सरकारले अध्यादेश धमाधम ल्याउने कदम चाल्नु उचित नभएको बताए ।

 

आफैं सामान निकालेर घर खाली गर्दै टेकुका सुकुम्बासीहरू(तस्वीर)

काठमाडौं । टेकुस्थित वंशीघाट क्षेत्रमा रहेका सुकुम्बासी बस्तीका बासिन्दाले आफ्ना घरटहरा आफैं खाली गर्न थालेका छन्।

सरकारले सुकुम्बासी बस्ती खाली गर्न डोजर चलाएपछि  स्थानीयले घरभित्रका सामान निकाल्दै अन्य स्थानतर्फ सार्न थालेका हुन्।

 

अमेरिकी उच्चस्तरीय टोली नेपाल आउँदै : प्रम बालेनलाई बाल छैन

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोर आज साँझ काठमाडौं आइपुग्ने भएका छन्।

नयाँ सरकार गठनपछि अमेरिकाबाट हुने यो दोस्रो उच्चस्तरीय भ्रमण हो। यसअघि ७ वैशाखमा अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुर नेपाल आएका थिए।

१० दिनमै लगातार दुई उच्चस्तरीय अमेरिकी भ्रमण हुनुले नेपाल-अमेरिका सम्बन्धलाई वाशिङ्टनले प्राथमिकतामा राखेको भन्दै कूटनीतिक वृत्तमा चर्चा भइरहेको छ।

भ्रमणका क्रममा सर्जियो गोरले रास्वपा सभापति रवि लामिछाने, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गर्ने कार्यक्रम तय भएको छ। तर प्रधानमन्त्री बालेन्द्र शाहसँग भने भेटवार्ता तय नभएको बताइएको छ।

स्रोतका अनुसार प्रधानमन्त्रीसँग भेटका लागि पहल भए पनि कार्यव्यस्तताका कारण समय मिल्न नसकेको हो। यसअघि आएका अमेरिकी अधिकारीहरूले पनि प्रधानमन्त्रीसँग भेट गर्न नपाएको उल्लेख गरिएको छ।

नयाँ सरकार आएपछि कूटनीतिक भेटघाटको शैली पुनर्संरचना गरिएको र प्रधानमन्त्रीले नीति-स्तरका विषयबाहेकका भेटलाई परराष्ट्र मन्त्रालयमै केन्द्रित गरिरहेको बताइएको छ।

चुनावी पराजयको कारण विशेष महाधिवेशन भन्दै गगनले गराउने महाधिवेशन नमान्ने देउवा पक्षको निष्कर्ष (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीभित्र अनुशासनको नाममा पूर्वाग्रह राखी स्पष्टीकरण सोध्ने प्रक्रिया तत्काल रोक्न माग गरेको छ। नेता पूर्णबहादुर खड्काले आह्वान गरेको देउवा समूहको भेलाले पछिल्ला गतिविधि निरङ्कुश प्रवृत्तिको परिचायक रहेको टिप्पणी गर्दै यस्तो कदमले पार्टीभित्र विभाजन अझै गहिरिने बताएको छ।

बैठकले हालै सम्पन्न चुनावको समीक्षा गर्दै विशेष महाधिवेशन नै कांग्रेसको पराजयको मूल कारण बन्न पुगेको निष्कर्ष निकालेको छ। पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतको आदेशलाई मान्ने भए पनि सभापति गगन थापाले अघि बढाएको विशेष महाधिवेशनलाई देउवा समूहले मान्यता नदिने अडान दोहोर्‍याएको छ।

विशेष महाधिवेशनपछि नेपाली कांग्रेसभित्र विभिन्न गुट तथा उपगुट सक्रिय हुँदै आफ्नै कार्यक्रम चलाउन थालेका छन्, जसले चुनावअघि देखिएको आन्तरिक असन्तुष्टिलाई झनै बढाएको देउवा समूहको भनाइ छ। यस्तो अलग अलग गतिविधिले पार्टी एकता कमजोर बनेको र अन्ततः चुनावी परिणाममा नकारात्मक असर परेको उनीहरूको निष्कर्ष छ।

देउवा पक्षले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई अस्वीकार गर्दै यसअघि सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। तर अदालतले गगन थापा नेतृत्वको समितिलाई मान्यता दिँदा आन्तरिक विवाद थप तातिएको छ।

यी सबै घटनाक्रमको बीचमा देउवा समूहले पार्टीभित्र स्पष्टीकरण, कारबाही वा दण्डात्मक कदममा नचलि संवाद र सहमतिमार्फत समस्या समाधान गर्ने वातावरण बनाउन नेतृत्वलाई आग्रह गरेको छ।

बलात्कार मुद्दामा जन्मकैद सजाय पाएका व्यक्ति फरार : फेरि अर्को हत्या

 

काठमाडौं। युवती बलात्कारपछि हत्या प्रकरणमा जन्मकैदको सजाय सुनाइएका एक व्यक्ति कारागारबाट फरार भएपछि अर्को हत्याकाण्डमा समेत संलग्न भएको खुलेको छ।

जन्मकैदको सजाय भोगिरहेका बाग्लुङको गल्कोट नगरपालिका-९ घर भएका ३१ वर्षीय सञ्जय विकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चाबहिलबाट पक्राउ गरेको हो।

उनी यसअघि २०८० साल मंसिर ५ गते तनहुँको भिमादकी ३९ वर्षीया सुकु विकलाई पोखरास्थित युनिक होटलको कोठा नम्बर २०२ मा लगेर बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए। उक्त घटनामा अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको थियो।

प्रहरीका अनुसार २०८१ साउन १ गते उनी पक्राउ परेका थिए भने २०८२ जेठ २६ गते कास्की अदालतले जन्मकैदको फैसला सुनाएको थियो। त्यसपछि उनी कास्की कारागारमा रहेका थिए।

तर २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका उनी त्यसपछि पुनः अपराधमा संलग्न भएको पाइएको छ।

प्रहरीका अनुसार २०८२ चैत २२ गते पूर्वी नवलपरासीको देवचुली नगरपालिका-१६ टाँडीकोटस्थित आफ्नै घरमा ७५ वर्षका जीवनराम थनेत र ७० वर्षीया गुलाब सिनिया चनेतमाथि घरेलु हतियार प्रयोग गरी आक्रमण गरी गरगहना लुटिएको थियो। सो आक्रमणमा गम्भीर घाइते भएका जीवनरामको उपचारका क्रममा मृत्यु भएको थियो।

उक्त घटनामा समेत सञ्जय विकको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि नवलपरासी पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

‘परालको आगो’ को व्यापार २ करोड नाघ्यो

काठमाडौं। सौगात मल्ल, सुहाना थापा र प्रकाश सपुत अभिनीत फिल्म ‘परालको आगो’ ले नेपालमा २ करोडभन्दा बढीको व्यापार गरेको छ।

फिल्मले बुधबारसम्म देशभर २ करोड ११ लाख रुपैयाँभन्दा बढी कमाइ गरेको निर्माता सुशील पोखरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

लक्ष्मण सुनार निर्देशित यो फिल्म गुरुप्रसाद मैनालीको चर्चित कृति ‘परालको आगो’ मा आधारित छ।

निर्माण टिमका अनुसार फिल्मले आगामी दिनमा पनि राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।

सफल व्यापारपछि निर्माण पक्ष दर्शकको प्रतिक्रिया बुझ्न राजधानीदेखि मोफसलका विभिन्न हलमा पुगेको छ। बुधबार फिल्मको टिम नेपालगन्जका हलहरूमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको थियो।

विरूपाक्ष : जमिनबाट बाहिर निस्के किन हुन्छ कलियुग अन्त्य ?

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ मन्दिरको वाग्मती नदीपट्टि विरूपाक्ष अर्थात् कलिको मन्दिर तथा मूर्ति छ । मूर्ति पूरै तिघ्रा छोपिने गरी भुइँमा गाडिएको छ । त्यस मूर्तिका खुट्टा छन् कि छैनन् भन्ने भेउ पाइँदैन । मूर्तिको नाक नेप्टो छ, ओठ मोटो छ, टाउको बाटुलो छ, त्यसैले इतिहासकारहरूले त्यसलाई किरात कालको मूर्ति ठानेका छन् ।

उक्त मूर्तिसँग जोडिएका रहस्यमयी विरूपाक्ष को हुन् ? किन त्यहाँ आधा गाडिएको अवस्थामा उनको प्रतिमा बनाइएको छ ? अथवा विरूपाक्ष के हुन् भन्ने विषयको सधैं चर्चा परिचर्चा प्रायः भैरहन्छ ।

विरूपाक्षसँग सम्बन्धित किम्वदन्तीले अधिकांशको आकर्षित गरेको छ । उक्त मूर्तिको उत्पत्ति र त्यससँग जोडिएका धार्मिक विश्वासबारे विभिन्न कथनहरू प्रचलित छन्।

काठमाडौँ उपत्यकामा प्रचलित लोककथाअनुसार ‘विरूपाक्ष’ एक किराँती बालकको नाम हो। गरिबीका कारण उनका बाबु रोजगारीका लागि परदेश गएका थिए। तर लामो समयसम्म पनि घर फर्किएनन्। सात वर्षको उमेर पुग्दा पनि बाबु नफर्किएपछि बालकले आमासँग बिदा मागेर बाबुको खोजीमा निस्कने निर्णय गरे।

उनले धेरै ठाउँमा खोजी गरे, तर कुनै पत्तो लागेन। समयसँगै उनी सत्र वर्षका जवान भए। एक दिन जंगलमा हिँड्दा रात परेपछि उनले नजिकैको ओडारमा बास बस्ने निर्णय गरे।

उता, लामो समयदेखि हराएका श्रीमान् र छोराको खोजीमा उनकी आमा पनि यात्रामा निस्किएकी थिइन्। संयोगवश उनी पनि त्यही ओडारमा आइपुगिन्। अँध्यारो कारणले आमा-छोराले एकअर्कालाई चिन्न सकेनन् र अज्ञानतामा उनीहरूबीच सहवास भयो।

बिहान भएपछि परिचय खुल्दा उनीहरू आफ्नै आमा-छोरा भएको थाहा पाए। यो घटनाले बालकलाई गहिरो पश्चात्तापमा पुर्‍यायो।

पापबाट मुक्त हुने उपाय खोज्दै उनी पशुपतिनाथ मन्दिर पुगेर भगवान् शिवसँग प्रायश्चितको मार्ग मागे। कथाअनुसार शिवले उनलाई १२ धार्नी तामा पगालेर खाने सल्लाह दिए।

उनले तामा तताउन थाले, तर तामा पग्लिएन। बरु त्यसको तातो र धुवाँले उनको अनुहार जलेर विकृत भयो, जसका कारण उनलाई ‘विरूपाक्ष’ भनियो।

यसपछि उनी शिवप्रति आक्रोशित भए र पशुपति क्षेत्रमा भौँतारिँदै शिवलिङ्गहरूमा प्रहार गर्न थाले। पछि उनी गौतम बुद्ध को शरणमा पुगे। बुद्धले उनलाई जपमाला दिएर ‘यो माला नखुइलिउन्जेल जप गर’ भने।

लामो साधनापछि उनले एक बालकलाई फलाम घोटेर सियो बनाउँदै गरेको देखे, जसबाट उनी प्रेरित भए। अन्ततः जपमाला खुइलियो र उनी पापबाट मुक्त भए भन्ने विश्वास छ।

तर, शिवको अपमान गरेको कारण स्थानीय भक्तहरूले उनलाई वाग्मती किनारमा जमिनभित्र गाडिदिए भन्ने जनविश्वास पनि छ। आज त्यहाँ देखिने आधा जमिनभित्र गाडिएको मूर्तिलाई धेरैले कलियुगसँग जोडेर हेर्छन्।

यस्तै विभिन्न पुराणहरूमा ‘विरूपाक्ष’ नामका आठ प्रकारका पात्रहरू पाइन्छन्। यीमध्ये भगवान् शिवका एघार रुद्र रूपमध्ये एक रुद्रको नाम पनि विरूपाक्ष रहेको उल्लेख छ। तर अन्य धेरै प्रसङ्गमा ‘विरूपाक्ष’ नाम दैत्य, दानव वा राक्षस वर्गका पात्रहरूमा प्रयोग भएको देखिन्छ।

काठमाडौँ उपत्यकामा प्रचलित लोककथा भने कुनै पनि मूल पुराणमा मेल खाएको पाइँदैन।

विभिन्न पुराण तथा महाकाव्यहरूमा विरूपाक्ष नाम यसरी उल्लेख गरिएको छ:

(१) पौराणिक विश्वासअनुसार पृथ्वीलाई आठ दिशाबाट आठ दिग्गज (हात्ती) ले धारण गरेको मानिन्छ। तीमध्ये एक हात्तीको नाम पनि विरूपाक्ष रहेको उल्लेख छ।

(२) महाभारत, आदि पर्व (अध्याय ६७) अनुसार कश्यप प्रजापति र दनुकी सन्तानमध्ये एक दानवको नाम विरूपाक्ष थियो।

(३) महाभारत, सभा पर्व (दाक्षिणात्य पाठ, अध्याय ३८) अनुसार नरकासुरका असुर सेवकमध्ये एक विरूपाक्ष नामक पात्र थियो, जसलाई लोहितगङ्गा (ब्रह्मपुत्र) किनारमा वध गरिएको उल्लेख छ।

(४) महाभारत, द्रोण पर्व (अध्याय १७५) अनुसार घटोत्कचका राक्षस मित्रमध्ये एकको नाम पनि विरूपाक्ष रहेको पाइन्छ।

(५) महाभारत, शान्ति पर्व (अध्याय १७०) मा एक दैत्यको नाम विरूपाक्ष उल्लेख गरिएको छ।

(६) वाल्मीकि रामायण (युद्ध काण्ड) अनुसार रावण पक्षमा रहेर राम-लक्ष्मणसँग युद्ध गर्ने एक राक्षसको नाम पनि विरूपाक्ष थियो।

(७) अग्नि पुराण (अध्याय १०) अनुसार कुम्भकर्णको वधपछि रावणका प्रमुख सेनापतिहरूमध्ये एक विरूपाक्ष नामक पात्र थियो।

यसरी विभिन्न ग्रन्थहरूमा ‘विरूपाक्ष’ नाम फरक-फरक पात्रहरूमा प्रयोग भएको देखिन्छ, जसमा देव, दैत्य, राक्षस तथा प्रतीकात्मक पात्रहरू सबै समावेश छन्।

भारतका विभिन्न स्थानहरू, कर्नाटक (हाम्पी), ओडिसा र मध्यप्रदेशमा रहेका विरूपाक्ष मन्दिरहरूमा भने विरूपाक्षलाई दैत्य वा कलियुगको पात्र होइन, भगवान् शिवकै स्वरूपका रूपमा पूजा गरिन्छ। हाम्पीस्थित विरूपाक्ष मन्दिरमा त उनको तान्त्रिक र वैष्णव-शैव परम्परासँग जोडिएको धार्मिक स्वरूप अझ स्पष्ट देखिन्छ।

डा. जगमान गुरुङले नेपाल र दक्षिण भारतका पुराना शिवमूर्तिहरू, विशेष गरी आन्ध्र प्रदेशको गुडिमल्लमस्थित परशुरामेश्वर शिवलिङ्गसँग शैलीगत समानता देखाएका छन्। यद्यपि नेपालमा रहेको विरूपाक्ष मूर्तिलाई कतै पनि सो नामले मात्र सीमित रूपमा बुझ्न नहुने तर्क पनि प्रस्तुत गरिएको छ। यसलाई किरातेश्वर शिवपरम्परासँग जोडेर व्याख्या गर्ने दृष्टिकोण पनि पाइन्छ।

यद्यपि नेपाली लोकविश्वास अनुसार, विरूपाक्ष अझै जमिनबाट बाहिर निस्कने प्रयासमा छन्। जब उनी पूर्ण रूपमा बाहिर आउँछन्, तब कलियुगको अन्त्य हुने मानिन्छ।

यस प्रकार, विरूपाक्ष मूर्तिसँग जोडिएका कथाहरू ऐतिहासिक प्रमाणभन्दा बढी धार्मिक आस्था र किम्वदन्तीमा आधारित रहेको पाइन्छ।