`

भन्सार छलेर नेपाल भित्र्याइएको ७७५ ईभी गाडी प्रहरीको नियन्त्रणमा [तस्वीरहरू]

मुस्ताङ। मुस्ताङको कोरोला नाकाबाट भन्सार छली गरेर नेपाल भित्र्याइएको आशंकामा सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएका ७७५ वटा विद्युतीय सवारीसाधन (ईभी) अझै विभिन्न स्थानमा राखिएका छन्। तीमध्ये ९६ वटा गाडी कास्कीको पोखरा महानगरपालिका–२५, सुइखेतमा सशस्त्र प्रहरीको निगरानीमा रहेका छन्।

सशस्त्र प्रहरी बलको विशेष टोलीले जेठ २८ गते मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जालगायत विभिन्न स्थानबाट ती गाडीहरू नियन्त्रणमा लिएको थियो।

विशेष सूचनाका आधारमा कोरोला नाका हुँदै ठूलो परिमाणमा भन्सार छली गरी विद्युतीय गाडी नेपाल भित्र्याइएको आशंका भएपछि सशस्त्र प्रहरीले संयुक्त अपरेसन सञ्चालन गरेको थियो। त्यसका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत तथा नं. २४ कालिका गण कास्कीबाट विशेष टोली परिचालन गरिएको थियो।

सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिइएका गाडीहरू नाकादेखि पोखरासम्मका विभिन्न स्थानमा राखिएका छन्। पोखरा महानगरपालिका–२५ सुइखेतमा मात्रै ९६ वटा ईभी सुरक्षित रूपमा राखिएको छ भने बाँकी गाडीहरू अन्य स्थानमा निगरानीसहित राखिएको जनाइएको छ।

घटनाबारे सरकारले छानबिन समिति गठन गरि अनुसन्धान अघि बढाएको छ। गाडीहरू वैधानिक रूपमा आयात गरिएका हुन् वा भन्सार प्रक्रिया छलेर भित्र्याइएका हुन् भन्ने विषयमा छानबिन प्रक्रिया अघि बढाएको हो।

तस्वीरहरू:

‘खुट्टामा पलाएको ऐँजेरु झरेको हो’ : धवलको बहिर्गमनबारे लिङ्देनको टिप्पणी

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी छाडेका नेता डा. धवलशम्शेर राणाप्रति खुट्टामा पलाएको ऐँजेरु झरेको टिप्पणी गरेका छन्।

राप्रपा गोरखाको जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टीलाई कमजोर बनाउने उद्देश्यले लाग्नेहरूले पार्टी छाड्दैमा कुनै असर नपर्ने दाबी गरे।

लिङ्देनले पार्टीभित्र समय-समयमा विभिन्न प्रवृत्तिहरू देखिने गरेको उल्लेख गर्दै हालै केही नेताहरूले पार्टी छाडेको प्रसंगलाई संकेत गरे।

उनले भने, ‘पार्टी जीवनमा केही सानोतिनो कुराहरू आउँछन्। केही प्रवृत्तिहरू कहिलेकाहीँ देखा पर्छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना कालदेखि केही यस्ता प्रवृत्तिहरू हामीले देख्यौँ र बेहोर्‍यौँ। त्यसको अन्तिम कडीको रूपमा हामीले भर्खरै केही साथीहरूको बेहोरालाई देखेका छौँ। तपाईँहरूले चिन्ता लिनु पर्दैन।’

लिङ्देनले महामन्त्री धवलशम्शेर राणाले पार्टी छाडेर जाँदैमा राप्रपालाई कुनै क्षति नपुग्ने दाबी गरे।

उनले थपे, ‘खुट्टामा पलाएको ऐँजेरु, जुत्ता लगाउन पनि काम नदिने, अप्ठ्यारो हुने, हिँड्न पनि अप्ठ्यारो हुने, काटेर फ्याँक्नुपर्ने, आफ्नै जिउको मासु फ्याँक्नुपर्ने जस्तो अवस्था थियो। त्यस्तो अवस्थामा आफैँ झरेर गयो भने त्यसमा के दुःख मान्नुपर्‍यो ?’

लिङ्देनले पार्टीका उम्मेदवार चयनदेखि चुनावी अभियानसम्म धवलशम्शेरको भूमिका प्रभावकारी नरहेको आरोपसमेत लगाए।

उनले भने, ‘पार्टीले उम्मेदवार सिफारिस गरेर पठायौँ। तर उहाँ कतै आउनुभएन। उठ्ने बेलामा पनि अरू साथीहरू उठेर सीट खाली गरिदिनुभयो। मनोनयनपत्र दिएर आफैँ गायब हुनुभयो। भोट दिन पनि आउनुभएन। यस्तो अवस्थामा पार्टी छाड्दैमा राप्रपामा कुनै भुईँचालो आउँदैन।’

अध्यक्ष लिङ्देनले पार्टी छाड्ने घटनाबाट कार्यकर्ताहरू विचलित नहुन आग्रह गर्दै राप्रपा अझ सुदृढ भएर अघि बढ्ने दाबी गरे।

१५ जिल्लाका सिडिओ हेरेफेर (सूचीसहित)

काठमाडौं। गृह मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरूको व्यापक सरुवा तथा पदस्थापन गरेको छ।

मन्त्रालयले जेठ १३ र २२ गते गरेका निर्णयअनुसार उपसचिव, प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहसचिव तहका कर्मचारीहरूलाई विभिन्न जिल्ला र निकायमा खटाएको हो।

सरुवाअनुसार गृह मन्त्रालयमा कार्यरत सहसचिव निराजन घिमिरे स्याङ्जा, कुमानसिंह गुरुङ कास्की, लक्ष्मी पाण्डे गौतम धादिङ र बलराम निरौला भैरहवास्थित अध्यागमन कार्यालयमा सरुवा भएका छन्।

त्यसैगरी मन्त्रालयले १५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको समेत हेरफेर गरेको छ। नयाँ पदस्थापनासँगै सम्बन्धित जिल्लाहरूमा प्रशासनिक नेतृत्व परिवर्तन हुने भएको छ।

किन भयो ‘खान सर’माथि हत्या प्रयासको मुद्दा दर्ता ?

एजेन्सी। बिहारको राजधानी पटनामा रहेको प्रसिद्ध कोचिङ संस्थानसँग जोडिएको हिंसात्मक घटनापछि चर्चित शिक्षक फैसल खान उर्फ ‘खान सर’ विरुद्ध प्रहरी कारबाही अघि बढाइएको छ।

कदमकुआन प्रहरी चौकीमा उनीविरुद्ध हत्या प्रयास र हतियार ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रहरीका अनुसार कोचिङ सेन्टरमा ढुंगा प्रहार, तोडफोड र त्यसपछि भएको गोली प्रकरणपछि भारतीय दण्ड संहिताको धारा १०९ अन्तर्गत मुद्दा दर्ता गरिएको हो।

यो धारा हत्या प्रयाससँग सम्बन्धित छ, जसमा १० वर्षसम्म कैद र जरिवानासम्मको सजाय हुन सक्छ। कानुनअनुसार यसमा अग्रिम जमानतको सुविधा पनि उपलब्ध हुँदैन।

घटना कसरी भयो ?

गत मंगलबार राति पटनाको मुसलपुर हाट क्षेत्रमा रहेको ‘खान ग्लोबल स्टडीज’ कोचिङ सेन्टरमा ढुंगा प्रहार र तोडफोड भएको थियो। प्रारम्भिक चरणमा खान सर पक्षले यो आक्रमण प्रतिस्पर्धी कोचिङ संस्थासँग जोडिएको दाबी गरेको थियो।

त्यसपछि प्रहरीले ज्ञान बिन्दु कोचिङका निर्देशक रोशन आनन्दसहित तीन जनालाई पक्राउ गरेको थियो र उनीहरूलाई न्यायिक हिरासतमा पठाइएको छ।

तर घटनाको भिडियो सार्वजनिक भएपछि अनुसन्धानले नयाँ मोड लिएको छ। भिडियोमा खान सरका दुई अंगरक्षकले गोली चलाएको देखिएको बताइएको छ। यसपछि ती सुरक्षा गार्डहरूलाई पनि पक्राउ गरी जेल पठाइएको छ।

प्रहरीका अनुसार गार्डहरूले आफूहरूले आत्मरक्षाका लागि गोली चलाएको बयान दिएका छन्। तर उनीहरूले उक्त कार्य खान सरको निर्देशनमा भएको पनि दाबी गरेका छन्। यसले मुद्दालाई थप जटिल बनाएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले खान सरलाई जुनसुकै बेला पक्राउ गर्न सक्ने अवस्था रहेको छ। उनीसँग प्रारम्भिक सोधपुछ भइसकेको छ। खान सरले सुरुमा गोली चलेको पुष्टि गरे पनि पछि आफ्नो बयान परिवर्तन गर्दै गार्डहरूले आत्मरक्षामा गोली चलाएको बताएका छन्।

उनले प्रहरी अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन्।

घटनामा एक सुरक्षा गार्ड घाइते भएको र अस्पतालमा उपचार भइरहेको जनाइएको छ। घटनापछि विद्यार्थीहरूले विरोध प्रदर्शन समेत गरेका छन्। प्रहरीले घटनास्थलको सीसीटीभी फुटेज संकलन गर्दै थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

लगातार दोस्रो दिन ओरालो लाग्यो सेयर बजार

काठमाडौं। बिहिवार १३ अंकले घटेको सेयर बजार शुक्रबार पनि ओरालो लाग्दै ११.३७ अंकले घटेको छ। कारोबार सुरु भएदेखि नै बजारले कुनै पनि चरणमा उकालो लिने संकेत देखाउन सकेन।

यस दिन ७४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८४ वटाको घट्यो भने ११ वटा कम्पनीको मूल्य स्थिर रह्यो। बजार घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ४ अर्ब ७० करोडको कारोबार भएकोमा शुक्रबार ५ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको हो।

फाइनान्स समूह सबैभन्दा धेरै २.७७ प्रतिशतले बढेको छ, जससँगै यसको सूचक चैत १५ यताकै उच्च बिन्दुमा पुगेको छ। होटल तथा पर्यटन समूह ०.०५ प्रतिशत र निर्जीवन बीमा समूह ०.०६ प्रतिशतले सामान्य वृद्धि भएका छन्।

तर बैंकिङ ०.४४, विकास बैंक ०.१६, जलविद्युत् ०.७४, लगानी ०.३७, जीवन बीमा ०.४४, उत्पादन तथा प्रशोधन ०.७८, माइक्रोफाइनान्स ०.१६, अन्य ०.७४ तथा व्यापार समूह ०.२३ प्रतिशतले घटे।

आज सबैभन्दा धेरै बढ्ने कम्पनीमा कालिन्चोक हाइड्रोपावर १५ प्रतिशतले अगाडि रह्यो। त्यस्तै उपकार लघुवित्त ९.७१ प्रतिशत, बेस्ट फाइनान्स ७.५५ प्रतिशत र सिटी होटल ७.०६ प्रतिशतले बढे।

त्यसैगरी होटल फरेस्ट इन ४.२२, माबिलुङ इनर्जी ४.१७, रिजलाइन इनर्जी ३.८३ र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक २.९९ प्रतिशतले घटे।

शुक्रवार सबैभन्दा बढी कारोबार हुने कम्पनीहरूमा आँखुखोला जलविद्युत्, सिटी होटल, सेन्ट्रल फाइनान्स, रिडी पावर, रिलायन्स स्पिनिङ मिल्स र बेस्ट फाइनान्स क्रमशः अगाडि रहेका छन्। 

ह्याक भयो एमालेको वेबसाइट [भिडियो]

काठमाडौं ।  नेकपा (एमाले) को मुख्य वेबसाइट नखुल्ने भएपछि साइबर आक्रमण (ह्याक) भएको आशंका गरिएको छ। Cpnuml.org नामबाट सञ्चालन हुँदै आएको वेबसाइटमा शुक्रबारदेखि पहुँच बाहिर पुगेको हो ।

वेबसाइट खोल्न खोज्दा पृष्ठ लोड नहुने तथा सेवा अवरुद्ध भएको देखिएको छ। यद्यपि साइट बन्द हुनुको कारणबारे पार्टी वा सम्बन्धित प्राविधिक निकायले औपचारिक जानकारी सार्वजनिक गरेका छैनन्। हाल एमालेले आधिकारिक वेबसाइट cpnuml.org मार्फत पार्टीका गतिविधि तथा सूचना प्रवाह हुँदै आएको छ।

वेबसाइटमा देखिएको समस्याले साइबर सुरक्षा सम्बन्धी प्रश्नसमेत उठाएको छ। प्राविधिक समस्या, सर्भर अवरोध वा साइबर आक्रमणमध्ये कुन कारणले सेवा प्रभावित भएको हो भन्नेबारे स्पष्ट हुन बाँकी छ।

 

सिम हराएपछि…भयो साढे २४ लाख गायब

काठमाडौं । सिमकार्डको दुरुपयोग गर्दै मोबाइल बैंकिङमार्फत विभिन्न बैंक खाताहरू तथा वालेटमा ठूलो रकम ट्रान्सफर गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१ सृजनानगर बस्ने सिन्धुली फिक्कल गाउँपालिका–४ का २६ वर्षीय रोशन पहाडी र ललितपुर महानगरपालिका–१३ बस्ने डडेल्धुरा अमरगढी नगरपालिका–८ का २५ वर्षीय सुभाष ओझा रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले बुधबार छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार रोशनलाई सल्लाघारीबाट र सुभाषलाई एकान्तकुनाबाट पक्राउ गरिएको हो।

अनुसन्धानमा खुल्न आएअनुसार पीडितको नाममा ९८१८०९१८७१ नम्बरको सिमकार्ड सन् २०७० असोज २ गते जारी भएको थियो। उक्त सिम हराएपछि त्यसलाई  पहाडीले प्रयोगमा ल्याएको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ।

सिम पुनः सक्रिय भएपछि पीडितको कुमारी बैंक (पहिले नेपाल क्रेडिट एन्ड कमर्स बैंक) खातामा आउने रकमका एसएमएस सूचनाहरू उनीहरूको पहुँचमा पुगेका थिए। त्यसपछि मोबाइल बैंकिङ सेवा दुरुपयोग गर्दै विभिन्न व्यक्तिहरूको नाममा रहेका ई-सेवा, खल्ती तथा बैंक खाताहरूमा रकम ट्रान्सफर गरी निकालिएको पाइएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार यसरी कुल २४ लाख ४७ हजार ५२८ रुपैयाँ विभिन्न बैंक तथा डिजिटल वालेटमा ट्रान्सफर गरी हिनामिना गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

प्रहरीले दुवै जनामाथि थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको जनाएको छ।

निखिलसँग सञ्जय दत्तको स्क्रिन सेयर ?

काठमाडौं । अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचार्य’ आगामी साउन २८ गते प्रदर्शनमा आउने तयारीमा रहेको छ।

अभिनेत्री सञ्चिता लुइँटेल निर्माता रहेको यो फिल्ममा निखिल उप्रेती नै प्रमुख भूमिकामा देखिने भएका छन्।

फिल्मको निर्देशनसमेत निखिल उप्रेतीले नै गरेका हुन्। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमसँगै दर्शकहरू पनि उत्साहित रहेको बताइएको छ। निखिलको फरक र बलियो एक्सन शैली यस फिल्ममा देख्न पाइने भएकाले दर्शकको कौतूहलता बढेको निर्माण पक्षको दाबी छ।

यसैबीच, फिल्ममा बलिउड अभिनेता सञ्जय दत्तको पनि उपस्थिति रहने चर्चा लामो समयदेखि चल्दै आएको छ। हाल प्राप्त जानकारी अनुसार सञ्जय दत्त फिल्मको एक गीतमा देखिने पक्का भएको बताइएको छ।

निर्माण टिमका अनुसार उक्त गीतको छायांकन अझै बाँकी रहेको छ, जसका लागि टिमले तयारी गरिरहेको छ। सोही क्रममा फिल्मको गीत सुटिङका लागि टोली दुबई जाने तयारीमा रहेको बताइएको छ।

कलाकर्मी स्रोतका अनुसार ‘आचार्य’ टिम यही मंगलबार अर्थात जेठ २६ गते दुबई प्रस्थान गर्नेछ। सञ्जय दत्तले दुबईमै टिमलाई भेटेर उक्त गीतको छायांकनमा सहभागिता जनाउने सम्भावना रहेको जनाइएको छ।

लामो समयपछि निखिल उप्रेती निर्देशनमा फर्किनु र बलिउड स्टार सञ्जय दत्तको समेत संलग्नता हुने चर्चाले फिल्मप्रति दर्शकको उत्साह अझ बढेको देखिन्छ।

बालेनलक्षित राजेश हमालको टिप्पणी : ‘अपरिपक्वताले राष्ट्रमाथि गम्भीर संकट पैदा हुन्छ’(भिडियाे)

काठमाडौँ ।  अभिनेता राजेश हमालले भारतसँग नेपालको सीमा विवाद र प्रधानमन्त्री बालेन्द्र शाहको हालैको अभिव्यक्तिबारे सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्। उनले राष्ट्रिय नेतृत्वमा दूरदृष्टिको अभाव भए गम्भीर संकट निम्तिन सक्ने चेतावनी दिएका छन्।

प्रधानमन्त्रीको नाम सीधै उल्लेख नगरी उनले आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै राज्य-प्रायोजित भू-अतिक्रमण र सीमापार अतिक्रमणलाई एउटै रूपमा नबुझ्नुपर्ने बताएका छन्। उनका अनुसार यी दुई विषय प्रायः एकै अर्थमा प्रयोग भए पनि तिनको प्रकृति र समाधानका उपाय फरक हुन्छन्।

हमालका अनुसार ‘सीमापार अतिक्रमण’ प्रायः स्थानीय नागरिक र भौगोलिक परिस्थितिसँग जोडिएको विषय हो। नेपाल-भारत खुला सीमाका कारण नदीले धार परिवर्तन गर्नु, सीमा स्तम्भ हराउनु वा बस्ती विस्तार हुनु जस्ता कारणले यस्तो समस्या देखिन सक्छ। यस्ता मुद्दालाई रणनीतिक विस्तारभन्दा पनि प्रशासनिक तथा स्थानीय समस्याका रूपमा हेर्नुपर्ने र यसको समाधान संवाद, संयुक्त सर्वेक्षण तथा आपसी सहकार्यबाट सम्भव हुने उनको धारणा छ।

तर ‘राज्य-प्रायोजित भू-अतिक्रमण’ लाई उनले गम्भीर र रणनीतिक प्रकृतिको विषय बताएका छन्। उनका अनुसार यस्तो अवस्थामा कुनै राज्य आफैंले विवादित भूभागमा नियन्त्रण विस्तार गर्ने, सडक निर्माण गर्ने, सुरक्षा निकाय परिचालन गर्ने वा आधिकारिक नक्सा परिवर्तन गर्ने जस्ता गतिविधि गर्छ। उनले यसका उदाहरणका रूपमा कालापानी-लिपुलेक-लिम्पियाधुरा क्षेत्र उल्लेख गरेका छन्।

हमालले वर्तमान विश्व राजनीतिक अवस्था र नेपालको नेतृत्व क्षमतामाथि पनि टिप्पणी गर्दै देश सञ्चालन गर्ने व्यक्तिमा परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि आवश्यक हुने बताएका छन्। त्यस्ता गुणको अभाव भए राष्ट्रले गम्भीर चुनौती सामना गर्नुपर्ने उनको भनाइ छ।

 

 

फिन इलेक्ट्रो–टेक २०२६’ भृकुटीमण्डपमा सुरु [तस्वीरहरू]

काठमाडौं। नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा तथा ट्रान्सवेल्ड ट्रान्सफर्मरको प्रायोजनमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औँ संस्करण काठमाडौंस्थित भृकुटीमण्डपमा सुरु भएको छ।

नेपालको विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रदर्शनीको उद्घाटन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका हुन्।

जेठ २५ गतेसम्म सञ्चालन हुने प्रदर्शनीलाई नेपालकै विद्युतीय तथा ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित मेला मानिन्छ। आयोजकका अनुसार प्रदर्शनीले ऊर्जा, विद्युतीय सामग्री, औद्योगिक स्वचालन, स्मार्ट प्रविधि तथा इलेक्ट्रोनिक्स क्षेत्रका नवीनतम उत्पादन र प्रविधिको प्रदर्शन गर्दै व्यवसायिक सहकार्य तथा प्रविधि हस्तान्तरणका अवसर सिर्जना गर्नेछ।
नेपाल, भारत, चीनलगायत विभिन्न देशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागिता रहेको प्रदर्शनीमा ऊर्जा तथा विद्युतीय क्षेत्रका अत्याधुनिक प्रविधि र सेवाहरू प्रदर्शित गरिएको छ।
साथै, उद्योगी, व्यवसायी, प्राविधिक, नीति निर्माता, शैक्षिक संस्था र उपभोक्ताबीच ज्ञान तथा अनुभव आदान–प्रदानको महत्वपूर्ण मञ्चका रूपमा प्रदर्शनी स्थापित भएको आयोजकले जनाएको छ।

महिलालाई विदेश पठाएको आरोपमा ६ जना पक्राउ

काठमाडौं । गैरकानुनी रूपमा महिलालाई विदेश पठाएको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विभिन्न जिल्लाका व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक शरतकुमार थापाक्षेत्रीका अनुसार पक्राउ पर्नेमा सङ्खुवासभा धर्मदेवी नगरपालिका–९ का आशिष भनिने केदारबहादुर खड्का, सिन्धुपाल्चोक बाह्रविसे–४ का ईश्वर न्यौपाने, गुल्मी दरबार–२ का रामबहादुर क्षेत्री र सप्तरी कृष्ण सव्राम–२ का प्रकाश साह रहेका छन्।

त्यस्तै, मोरङ सुन्दरहरैँचा नगरपालिका–४ का कुमार उराउ र खोटाङ जन्तेढुङ्गा गाउँपालिका-३ का पशुपति राई पनि पक्राउ परेका छन्। उनीहरूलाई गत बुधबार र पछिल्ला दिनमा विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट ३१ लाख ८० हजार रुपैयाँ नगद बरामद गरिएको छ। उनीहरूले महिलालाई गैरकानुनी रूपमा विदेश पठाउने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

मोदी कार्ड किन प्रयोग गर्दैछन् ट्रम्प र पुटिन ?

काठमाडौं। विश्व राजनीतिमा प्रभावशाली शक्ति राष्ट्र अमेरिका र रुसबीच भारतसँगको सम्बन्धलाई अझ मजबुत बनाउने होड देखिन थालेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको खुलेर प्रशंसा गर्दै भारतसँगको रणनीतिक साझेदारीलाई थप विस्तार गर्ने संकेत दिएका छन्।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका र भारतबीच छिट्टै ठूलो व्यापार सम्झौता हुन सक्ने बताएका छन्। उनले प्रधानमन्त्री मोदीलाई आफ्नो ‘धेरै राम्रो साथी’ भन्दै दुई देशबीचको सम्बन्ध बलियो रहेको र दुवै नेताले एकअर्कालाई राम्रोसँग बुझ्ने दाबी गरे।

ट्रम्पले विगतमा भारतले अमेरिकामाथि उच्च भन्सार शुल्क लगाएर लाभ लिएको तर अमेरिकाले त्यसअनुसार प्रतिफल नपाएको टिप्पणी गरे। तर अहिले परिस्थिति परिवर्तन भइसकेको र भारतसँगको व्यापारबाट अमेरिकाले राम्रो आम्दानी गर्न थालेको उनको भनाइ थियो।

‘हामी एउटा महत्वपूर्ण सम्झौतामा पुग्नेछौँ, किनकि म प्रधानमन्त्री मोदीलाई धेरै मन पराउँछु,’ ट्रम्पले भने।

यद्यपि, मोदीको प्रशंसा गरिरहेका ट्रम्पकै प्रशासनले भारतसहित ५४ देशमाथि अतिरिक्त ट्यारिफ लगाउने घोषणा गरेको छ। अमेरिकी प्रशासनका अनुसार ती देशहरूले जबर्जस्ती श्रमबाट उत्पादित सामग्रीको आयात नियन्त्रणमा पर्याप्त कदम नचालेकाले यस्तो निर्णय गरिएको हो।

यता, रुसी राष्ट्रपति पुटिनले जुन ४ मा सेन्ट पिटर्सबर्गमा पीटीआईसहित विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीका प्रमुखहरूसँगको भेटमा भारत र प्रधानमन्त्री मोदीको खुलेर प्रशंसा गरेका छन्।

पुटिनले अमेरिकाले भारतलाई रुससँगको सम्बन्धका विषयमा दबाब दिन खोजे पनि त्यस्तो प्रयास सफल नहुने दाबी गरे। उनका अनुसार भारतले सधैं आफ्नो राष्ट्रिय हितलाई प्राथमिकता दिने भएकाले कुनै पनि बाह्य दबाबले उसको विदेश नीतिलाई प्रभावित पार्न सक्दैन।

भारतलाई ‘महान् राष्ट्र र लोकतान्त्रिक शक्ति’ को संज्ञा दिँदै पुटिनले रुसका लागि भारत भरपर्दो र दीर्घकालीन साझेदार भएको बताए। उनले भारत र अमेरिकाबीचको बढ्दो सहकार्यले पनि भारत–रुस सम्बन्धमा कुनै असर नपर्ने दाबी गरे।

पश्चिमी मुलुकहरूले रुससँगको सहकार्य घटाउन भारतमाथि दबाब सिर्जना गर्ने प्रयास गरे पनि त्यसले अन्तर्राष्ट्रिय सम्बन्धलाई नै कमजोर बनाउने अवस्था आउने पुटिनको भनाइ थियो।

उनले प्रधानमन्त्री मोदीको नेतृत्व, नीतिगत स्थिरता र सरकारको निरन्तर प्रयासका कारण भारत विश्वकै तीव्र आर्थिक वृद्धिदर भएका मुलुकमध्ये एक बनेको उल्लेख गर्दै आगामी वर्षहरूमा भारत–रुस व्यापार १०० अर्ब अमेरिकी डलरसम्म पुग्ने विश्वास व्यक्त गरे।

यस वर्ष भारतले ब्रिक्सको अध्यक्षता गरिरहेको छ। सेप्टेम्बर १२ र १३ मा नयाँ दिल्लीमा आयोजना हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन पुटिन भारत जाने कार्यक्रम रहेको छ। त्यस्तै, प्रधानमन्त्री मोदीको पनि यही वर्ष रुस भ्रमण तय भएको बताइएको छ।

यसअघि सन् २०२५ डिसेम्बर ४ मा सम्पन्न २३औँ भारत–रुस वार्षिक शिखर सम्मेलनमा सहभागी हुन पुटिन भारत आएका थिए। युक्रेन युद्ध सुरु भएपछिको त्यो उनको पहिलो भारत भ्रमण तथा सन् २०२१ पछिको दोस्रो भ्रमण थियो।

दिल्ली पुगेपछि पुटिन र मोदी एउटै टोयोटा एसयूभीमा प्रधानमन्त्री निवासतर्फ गएका थिए, जसले दुवै नेताबीचको व्यक्तिगत सम्बन्धलाई पनि चर्चा दिलाएको थियो।

डिसेम्बर २०२५ मा सम्पन्न शिखर वार्ताका क्रममा भारत र रुसबीच विभिन्न क्षेत्रमा महत्वपूर्ण समझदारी भएका थिए। रुसले भारतको बढ्दो अर्थतन्त्रका लागि इन्धनको नियमित र अवरोधरहित आपूर्ति सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको थियो।

त्यसैगरी, भारतीय कम्पनीहरूले रुसी साझेदारसँग मिलेर रुसमै युरिया उत्पादन प्लान्ट स्थापना गर्ने सहमति गरेका थिए। भारतको एफएसएसएआई र रुसको उपभोक्ता सुरक्षा एजेन्सीबीच खाद्य सुरक्षासम्बन्धी मापदण्डलाई थप प्रभावकारी बनाउने सम्झौता पनि भएको थियो।

दुवै देशबीच चिकित्सा अनुसन्धान, स्वास्थ्य सेवा, बन्दरगाह तथा सिपिङ सञ्चालनमा सहकार्य विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएका थिए। साथै, नागरिकहरूको आवतजावत सहज बनाउन र आप्रवासन प्रक्रिया सरल बनाउने विषयमा समेत सहमति भएको थियो।

विश्व राजनीतिमा बदलिँदो शक्ति सन्तुलनका बीच अमेरिका र रुस दुवैले भारतसँगको सम्बन्धलाई आफ्नो रणनीतिक प्राथमिकतामा राखेको स्पष्ट संकेत यी पछिल्ला घटनाक्रमहरूले दिएका छन्।

मानवअधिकार आयोगको प्रतिवेदनमाथि एमालेको धारणा – ‘कुत्सित मनसाय देखियो’

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३-२४ गते भएका घटनासम्बन्धी अध्ययन प्रतिवेदनप्रति गम्भीर आपत्ति जनाएको छ। एमालेले प्रतिवेदन तथ्य, कानुनी आधार र विश्लेषणात्मक दृष्टिले प्रश्नको घेरामा रहेको दाबी गरेको छ।

महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा प्रारम्भिक अध्ययनका आधारमा प्रतिवेदनमा गम्भीर कमजोरी रहेको देखिएको उल्लेख छ। उनका अनुसार प्रतिवेदनमा गरिएका केही सिफारिसहरू भूतप्रभावी कानुन निर्माण गरेर विगतका घटनामा कारबाही गर्ने उद्देश्यबाट प्रेरित देखिन्छ, जुन संविधान र स्थापित कानुनी सिद्धान्त विपरीत हुने दाबी गरिएको छ।

विज्ञप्तिमा प्रतिवेदनले तत्कालीन सरकारका प्रधानमन्त्रीसहितका पदाधिकारीमाथि उनीहरूको संलग्नता स्पष्ट नभएको अवस्थामा पनि कारबाहीको संकेत गरेको भन्दै प्रश्न उठाइएको छ। यस्तो सिफारिस कानुनी दृष्टिले स्वीकार्य नहुने एमालेको भनाइ छ।

त्यस्तै, प्रतिवेदनमा तत्कालीन नेतृत्वकर्ताहरूलाई लक्षित गर्दै ‘अदृश्य शक्तिको निर्देशनअनुसार कारबाही गर्ने कुत्सित मनसाय देखिएको’ भन्दै त्यसको कानुनी वैधतामाथि प्रश्न उठाइएको छ। प्रतिवेदन वस्तुनिष्ठ अनुसन्धानमा आधारित नभई राजनीतिक पूर्वाग्रह वा परिणाममुखी सोचबाट प्रभावित भएको आरोप पनि एमालेले लगाएको छ।

एमालेका अनुसार प्रतिवेदनको संरचना, भाषा र निष्कर्ष हेर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजनीतिक रूपमा निषेध गर्ने उद्देश्य देखिन्छ।

प्रतिवेदनले घटनाको वास्तविक तथ्य उजागर गर्नुको सट्टा पूर्वनिर्धारित निष्कर्ष पुष्टि गर्ने गरी तयार पारिएको भन्दै एमालेले त्यसको निष्पक्षतामाथि प्रश्न उठाएको छ।

यस विषयमा मानव अधिकार आयोग वा अन्य सम्बन्धित निकायको प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।

कांग्रेस सांसद अर्जुननरसिंह केसी किन देखिँदैछन् सत्ताअनुकूल ?

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका ज्येष्ठ सांसद अर्जुननरसिंह केसीको पछिल्लो संसदीय भूमिका र अभिव्यक्तिमाथि कांग्रेसभित्रै प्रश्न उठ्न थालेको छ ।

संसदमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई जवाफदेही बनाउन विपक्षी दलहरू आक्रामक रूपमा प्रस्तुत भइरहेका बेला केसीले भने बारम्बार सत्तापक्षलाई अनुकूल हुने अभिव्यक्ति दिएको भन्दै आलोचना बढेको हो ।

यही १७ जेठमा प्रधानमन्त्री शाहसँगको प्रश्नोत्तर कार्यक्रमलाई लिएर प्रतिनिधिसभामा विवाद चर्किएका बेला केसीले प्रधानमन्त्रीको प्रशंसा गर्दै प्रश्न सोधेको घटनाले कांग्रेसभित्र उनको आलोचना भइरहेको छ ।

विपक्षी दलहरू कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले प्रतिनिधिसभा नियमावलीको मर्मविपरीत प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरिएको भन्दै बहिष्कार गर्ने तयारी गरिरहेका बेला केसीले हात उठाएर प्रश्न सोधेका थिए ।

प्रधानमन्त्री संसदमा उपस्थित हुनु सकारात्मक भएको भन्दै उनले रोष्ट्रमबाटै प्रशंसा गरेपछि सत्तापक्षीय सांसदहरूले टेबल ठोकेर स्वागत गरेका थिए । तर, विपक्षी बेञ्चमा भने मौनता देखिएको थियो ।

कांग्रेसका एक सांसदले भने, ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम नियमावलीअनुसार नभएको भन्दै विपक्षी दलहरू विरोधको तयारीमा थिए ।  त्यही बेला उहाँले प्रधानमन्त्रीको प्रशंसा गर्नुभयो । सत्तापक्षले समर्थन जनायो तर विपक्षी बेञ्च मौन रह्यो । त्यसले उहाँको भूमिकामाथि थप प्रश्न उठाएको छ ।’

केसीले प्रश्न सोध्ने क्रममा स्वास्थ्य समस्या देखिएको थियो । त्यसपछि उनी उपचारका लागि अस्पताल पुगेका थिए ।

तर, कांग्रेसभित्र केही नेताहरूले उनको स्वास्थ्य अवस्थाभन्दा बढी उनको राजनीतिक सन्देशबारे चर्चा गरिरहेका छन् ।

अर्का कांग्रेस सांसदले भने, ‘विपक्षी दलहरू प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउन संघर्ष गरिरहेका छन् । तर, हाम्रै माननीय केसीका अभिव्यक्तिहरू भने प्रधानमन्त्री बालेनको बचाउमा केन्द्रित देखिन्छन् । पछिल्ला दिनमा उहाँ विपक्षीभन्दा सत्तापक्षको सांसदजस्तो देखिनुभएको छ ।’

यो पहिलो पटक भने होइन । यसअघि पनि प्रतिनिधिसभामा नीति तथा कार्यक्रम, विनियोजन विधेयकसँगै अन्य विधेयकमाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले तोकेको मन्त्रीले दिन मिल्ने भन्दै केसीले सत्तापक्षीय व्याख्याको समर्थन गरेका थिए ।

जबकि, विपक्षी दलहरूले भने प्रधानमन्त्री स्वयम् उपस्थित भएर जवाफ दिनुपर्ने अडान लिएका थिए । प्रधानमन्त्री देशबाहिर हुँदा मात्रै प्रधानमन्त्रीले तोकेका मन्त्रीले जवाफ दिन सकिने उनीहरूको तर्क थियो ।

तर, विपक्षी सांसद रहेका केसीले यो तर्कको खण्डन गर्दै प्रधानमन्त्रीले तोकेको मन्त्रीले जवाफ दिन मिल्ने बताएका थिए ।

ती कांग्रेस सांसद भन्छन्, ‘पार्टीको आधिकारिक धारणा प्रधानमन्त्रीको प्रत्यक्ष जवाफदेहिताको पक्षमा थियो । तर केसी माननीयले त्यसविपरीत अभिव्यक्ति दिनुभयो । त्यसबेलादेखि नै उहाँको भूमिकामाथि प्रश्न उठ्न थालेको हो ।’

प्रधानमन्त्री बालेनको कार्यशैली र अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसदमा निरन्तर विरोध गरिरहेका छन् ।

हालैको सीमासम्बन्धी उनका विवादित अभिव्यक्ति, संसदमा उपस्थित नहुने शैली, विधेयकमाथिको छलफलमा भाग नलिने प्रवृत्ति, संवेदनशील विषयमा मौन बस्ने उनको व्यवहार आलोचनाको केन्द्रमा छन् ।

तर, यस्ता मुद्दामा समेत केसी आक्रामक रूपमा प्रस्तुत नभएको भन्दै कांग्रेसभित्र असन्तुष्टि बढ्दै गएको छ ।

कतिसम्म भने उनी आफ्नै दल कांग्रेससहित, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरू उठेर विरोध गरिरहेका बेला धेरैपटक बसिरहे ।

यी घटनाक्रमले उनी सत्ताअनुकूल बोल्ने र व्यवहार गर्ने गरेको भन्दै आलोचनाको घेरामा परेका छन् ।

मोटरसाइकल चलाउँदा भिडिओ खिचिरहेका हर्क साम्पाङ लडेपछि…

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन्। उदयपुरको कटारीबाट आफैँ मोटरसाइकल चलाएर बेलकातर्फ जाँदै गर्दा उनी दुर्घटनामा परेको जनाइएको छ।

पार्टीका एक नेताका अनुसार साम्पाङले एक हातले मोटरसाइकल चलाउँदै अर्को हातले मोबाइलबाट भिडिओ खिचिरहेका बेला सन्तुलन गुमाएका थिए। त्यसपछि मोटरसाइकल सडकमा लड्दा उनी सामान्य घाइते भएका हुन्।

दुर्घटनापछि उठेर साम्पाङले आफूलाई लागेको चोटसमेत देखाउँदै भिडिओ बनाएका थिए। सार्वजनिक भएको भिडिओमा उनको एउटा हातको छाला ताछिएको देखिन्छ भने उनले लगाएको सुरुवाल पनि च्यातिएको अवस्था देखिएको छ।

घटनापछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिँदै लेखेका छन्, ‘म आफैँ लडेँ, चोट मलाई नै लाग्यो। अलिअलि चोट लाग्नु पनि पर्छ, तर देशलाई चोट दिएको छैन मैले। धेरै नकराउनु।’

यता, श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले अध्यक्ष साम्पाङको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै दुर्घटनामा सामान्य चोटपटक मात्र लागेको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ हिजो दुर्घटनामा परेको खबरले हामी सबैलाई चिन्तित बनाएको थियो। तर उहाँलाई सामान्य चोटपटक मात्र लागेको छ र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। उहाँ सधैँझैँ आफ्नो दैनिकीमा सक्रिय हुनुहुन्छ।’

साम्पाङको स्वास्थ्य अवस्था सामान्य रहेको र थप उपचारको आवश्यकता नपरेको पार्टी स्रोतले जनाएको छ।

सम्पर्कविहीन कर्मचारीको खोज्दै सरकार, तीन दिनभित्र विवरण अद्यावधिक गर्न निर्देशन

काठमाडौं। सरकारले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका तर बिदा अवधि समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभएका र लामो समयदेखि सम्पर्कविहीन रहेका निजामती कर्मचारीहरूको खोजी प्रक्रिया सुरु गरेको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही कर्मचारीहरूको व्यक्तिगत विवरण (पीआईएस) तथा बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएको जनाएको छ।

यस्ता कर्मचारीहरूलाई सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र अनिवार्य रूपमा आफ्नो अभिलेख अद्यावधिक गराउन भनिएको छ।

मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका सरकारी कार्यालयलाई पनि आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीहरूको विवरण यकिन गर्न निर्देशन दिएको छ।

सम्बन्धित कर्मचारी बिदा अवधि समाप्तिपछि नियमित रूपमा कार्यालयमा हाजिर भए वा नभएको अवस्थासहित अन्य आवश्यक विवरण राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी तीन दिनभित्र अभिलेख अद्यावधिक गर्न आग्रह गरिएको छ।

सूचनामा अध्ययन वा असाधारण बिदा सकिएपछि पनि कार्यालयमा नफर्किएका तथा लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका कर्मचारीहरूको हकमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने संकेत समेत गरिएको छ।

सरकारले निजामती सेवामा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने तथा कर्मचारीहरूको वास्तविक अवस्थाबारे अद्यावधिक विवरण सुनिश्चित गर्ने उद्देश्यले यो सूचना जारी गरेको जनाएको छ।

पुन: विश्व च्याम्पियन बन्ने लक्ष्यमा ब्राजिल

विश्व फुटबलको इतिहासमा सबैभन्दा सफल टोली मानिने ब्राजिल आगामी फिफा विश्वकप २०२६  मा छैटौं उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रँदै छ।

सन् २००२ पछि विश्वकप जित्न नसकेको ब्राजिल यसपटक इटालियन प्रशिक्षक कार्लो एन्सेलोटी को नेतृत्वमा नयाँ रणनीति र सन्तुलित टोलीसहित प्रतियोगितामा सहभागी हुँदैछ। नेयामारको पुनरागमन, भिनिसियस जुनियर, राफिनहा , क्यासीमिरो र एलिसन बेकर जस्ता अनुभवी खेलाडीसँगै युवा प्रतिभाहरूको उपस्थितिले ब्राजिललाई उपाधिको प्रमुख दाबेदार बनाएको छ।

ब्राजिलको २६ सदस्यीय टोलीमा गोलकिपरतर्फ एलिसन, एडर्सन र वेभर्टन रहेका छन्। रक्षापंक्तिमा मार्किन्होस, गाब्रियल मगलाएस, ब्रेमर, डानिलो र एलेक्स सान्द्रो जस्ता खेलाडी छन् भने मिडफिल्डमा कासेमिरो, ब्रुनो गिमारेस, फाबिन्हो र लुकास पाक्वेटाले जिम्मेवारी सम्हाल्नेछन्। आक्रमण पंक्तिमा नेयमार, भिनिसियस जुनियर, राफिन्हा, एन्ड्रिक, गाब्रियल मार्टिनेली र माथेउस कुन्हाजस्ता स्टार खेलाडी रहेका छन्।

समूह ‘सी’ मा रहेको ब्राजिलले आफ्नो विश्वकप यात्रा जुन १३ मा न्यूयोर्क–न्यु जर्सी स्टेडियममा मोरक्कोविरुद्धको खेलबाट सुरु गर्नेछ। त्यसपछि जुन १९ मा फिलाडेल्फिया स्टेडियममा हाइटीसँग र जुन २४ मा मियामी स्टेडियममा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा ब्राजिलले उत्तर अमेरिकी मौसम, फरक खेल मैदान तथा कडा प्रतिस्पर्धाबीच आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती सामना गर्नेछ। 

यद्यपि अनुभवी नेतृत्व, बलियो आक्रमण र विश्वस्तरीय प्रतिभाका कारण ब्राजिललाई यसपटक पनि उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ। फुटबल प्रेमीहरू ब्राजिलले २४ वर्ष लामो विश्वकप खडेरी अन्त्य गर्दै पुनः विश्व फुटबलको शिखरमा पुग्ने अपेक्षामा छन्।

 

विश्वकपलाई लक्षित गर्दै टीसीएलले ल्यायो यस्तो योजना

काठमाडौं । आगामी फुटबल विश्वकपलाई लक्षित गर्दै इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली ग्राहकका लागि विशेष उपहार योजना सार्वजनिक गरेको छ।

नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले ‘आर यू रेडी फर ग्रेटनेस’ नामक अभियान सञ्चालनमा ल्याएको जनाएको छ। अभियानअन्तर्गत ग्राहकलाई आकर्षक क्यासब्याक, विस्तारित वारेन्टी तथा सहज किस्ताबन्दी (ईएमआई) सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार टीसीएल टेलिभिजन खरिद गर्ने ग्राहकले अधिकतम दुई लाख रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्। साथै, विश्वकपको अवसर पारेर चार वर्षसम्मको विशेष वारेन्टी सुविधा पनि उपलब्ध गराइएको छ।

ग्राहकको आर्थिक सहजतालाई ध्यानमा राख्दै नागरिकताको आधारमा मात्र सहज ईएमआई सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

सीजी इलेक्ट्रोनिक्सका अनुसार यो योजना जेठ २१ गतेदेखि साउन ३ गतेसम्म देशभर रहेका आधिकारिक सीजी इलेक्ट्रोनिक्स शोरुम तथा अधिकृत डिलरमार्फत लागू हुनेछ।

कम्पनीले विश्वकपको उत्साहलाई अझ रोमाञ्चक बनाउने उद्देश्यले यो विशेष अभियान सञ्चालन गरिएको जनाएको छ।

कारागारमै भाइरल ज्वरो फैलिएपछी यस्तो भयो

चितवन । भरतपुरस्थित जिल्ला कारागारमा भाइरल ज्वरोको संक्रमण फैलिएको छ। हालसम्म कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट प्रभावित भएको कारागार प्रशासनले जनाएको छ।

जिल्ला कारागारका प्रमुख खेमेन्द्र डुमानाका अनुसार पछिल्लो समय दैनिक पाँचदेखि सात जनासम्म कैदीमा भाइरल ज्वरोको लक्षण देखिने गरेको छ। उनका अनुसार संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ।

हाल कारागारमा ७१२ जना कैदीबन्दी रहेका छन्। कारागारको क्षमता ६०० जनाको भए पनि क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ। यहाँ ५० जना महिला र ६५० जना पुरुष कैदीबन्दी रहेका छन्।

भाइरल ज्वरोबाट प्रभावित कैदीबन्दीलाई छुट्टै कोठामा राखेर उपचार भइरहेको कारागार प्रशासनले जनाएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय र भरतपुर महानगरपालिकाको सहयोगमा आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको प्रमुख डुमानाले बताए।

कारागार प्रशासनले संक्रमण थप फैलिन नदिन स्वास्थ्य निगरानी तथा आवश्यक सतर्कता अपनाइएको जनाएको छ।

‘१२ गाउँ’ सिक्वेल-२ को तयारीमा विराज

काठमाडौं । अभिनेता तथा निर्देशक विराज भट्ट आफ्नो व्यावसायिक रूपमा सफल एक्सन फिल्म ‘१२ गाउँ’को सिक्वेल ‘१२ गाउँ २’ लिएर दर्शकमाझ आउने भएका छन्। निर्माण टिमले फिल्मलाई आगामी दशैंको फूलपातीको अवसरमा प्रदर्शन गर्ने तयारी गरेको छ।

विराज भट्टकै निर्देशनमा निर्माण भइरहेको फिल्मको छायांकन गीतबाट सुरु गरिएको छ। काठमाडौं, सिन्धुपाल्चोक र चितवनलगायत विभिन्न स्थानमा छायांकन हुने फिल्मले पहिलो श्रृंखलाले दर्शकमाझ बनाएको लोकप्रियतालाई निरन्तरता दिने निर्माण पक्षको विश्वास छ।

फिल्मको अर्को आकर्षण वरिष्ठ अभिनेता राजेश हमालको पुनरागमन हो। लामो समयदेखि नेपाली चलचित्रबाट टाढिएका हमाल करिब दुई दशकपछि यही फिल्ममार्फत नेपाली रजतपटमा फर्किन लागेका छन्। ‘बाटुली’, ‘जय शिव शंकर’ र ‘म छुनी तिम्रो’ जस्ता चलचित्रमा अभिनय गरेका हमालको पुनरागमनलाई लिएर दर्शकमाझ उत्सुकता देखिएको छ।

पहिलो भागमा विराज भट्टको किक लागेर नाक भाँचिएको दृश्यका कारण चर्चामा आएका कलाकार कालु राना पनि सिक्वेलमा देखिने भएका छन्। निर्माण टिमका अनुसार उनको पात्रलाई दोस्रो भागमा पनि निरन्तरता दिइनेछ।

फिल्ममा विराज भट्टसँगै समिर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी र पूर्णबहादुर गन्धर्वलगायत कलाकारको अभिनय रहनेछ।

फिल्मको कथा तथा पटकथा सन्तोष सरकारले तयार पारेका छन्। संगीत युग भुसाल, देवेन्द्र बराल र डीपी खनालको रहनेछ भने गायनमा सुगम पोखरेल, समीक्षा अधिकारी, प्रेरणा सिंह, किरण भुजेल र निशान भट्टराईको स्वर सुन्न पाइनेछ। फिल्मका डीओपी महेश पौडेल हुन्।

एक्सन, ड्रामा र पारिवारिक भावनाको मिश्रण रहने बताइएको ‘१२ गाउँ २’ को वितरण उपत्यकाभित्र काफिया फिल्म्स प्रालिले तथा उपत्यकाबाहिर कुबेर फिल्म्सले गर्ने निर्माण टिमले जनाएको छ।

२१ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घट्दा चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ५ हजार २३० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूले बताएका छन्।

इसराइल-लेबनान युद्धविराममा हिजबुल्लाहको असहमति

काठमाडौं । अमेरिका, इसराइल र लेबननबीच भएको पूर्ण युद्धविराम सम्झौतामा हिजबुल्लाहले असहमति जनाएपछि यसको कार्यान्वयनमाथि प्रश्न उठेको छ।

अमेरिकी अनलाइन समाचारमाध्यम एक्सियसका अनुसार प्रारम्भिक रूपमा युद्धविरामप्रति सकारात्मक संकेत दिएको हिजबुल्लाहले बिहीबार सम्झौताका मुख्य सर्तहरू अस्वीकार गरेको हो।

अमेरिका, इसराइल र लेबननले बुधबार संयुक्त वक्तव्य जारी गर्दै हिजबुल्लाहले दक्षिणी लेबननको लिटानी नदीको दक्षिण क्षेत्रबाट आफ्ना लडाकु हटाउने र इसराइलमाथिका आक्रमण रोक्ने सर्तमा पूर्ण युद्धविराममा सहमति भएको घोषणा गरेका थिए।

तर हिजबुल्लाहले उक्त व्यवस्थालाई अस्वीकार गरेपछि सम्झौता व्यवहारमा कार्यान्वयन हुने वा नहुने विषयमा अन्योल बढेको एक्सियसले जनाएको छ।

यो युद्धविराम सफल भए अमेरिका र इरानबीच जारी तनाव कम हुने तथा सम्भावित सहमतिका लागि वातावरण बन्ने अपेक्षा गरिएको थियो। इरानले अमेरिकासँग हुने कुनै पनि सम्झौताका लागि इसराइल–लेबनन युद्धको अन्त्यलाई महत्त्वपूर्ण सर्तका रूपमा अघि सार्दै आएको छ।

हिजबुल्लाहका महासचिव नइम कासेमले सम्झौताप्रति असन्तुष्टि व्यक्त गर्दै यसलाई ‘लेबननका जनताको एक हिस्सालाई समाप्त पार्ने मार्गचित्र’को संज्ञा दिएका छन्।

उनले दक्षिणी लेबननबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता नभएसम्म कुनै पनि युद्धविराम स्वीकार्य नहुने स्पष्ट पारे। साथै, इजरायली आक्रमण जारी रहे प्रतिरोधात्मक कारबाही पनि जारी रहने चेतावनी दिएका छन्।

‘हाम्रा गाउँहरूमा बमबारी भइरहँदा र जनता मारिइरहँदा उत्तरी इसराइल सुरक्षित रहँदैन,’ कासेमलाई उद्धृत गर्दै एक्सियसले उल्लेख गरेको छ।

सम्झौताअनुसार दक्षिणी लेबननमा ‘पाइलट जोन’ स्थापना गर्ने र उक्त क्षेत्रमा लेबननी सेनाले पूर्ण नियन्त्रण लिने व्यवस्था गरिएको छ। त्यहाँ हिजबुल्लाहको सैन्य उपस्थिति नरहने सुनिश्चित गरिनेछ भने बदलामा इजरायली सेना पनि क्षेत्रबाट फिर्ता हुने सहमति भएको थियो।

संयुक्त वक्तव्यमा इसराइल र लेबननले एकअर्काविरुद्ध शत्रुतापूर्ण उद्देश्य नरहेको दोहोर्‍याउँदै बाँकी विवाद समाधान तथा दीर्घकालीन समझदारीका लागि प्रत्यक्ष वार्ता जारी राख्ने प्रतिबद्धता जनाएका छन्। अर्को चरणको वार्ता जुन २२ मा अमेरिकाको वासिङ्टन डीसीमा हुने तय गरिएको छ।

फेब्रुअरी अन्त्यमा अमेरिका र इसराइलले इरानमाथि गरेको आक्रमणपछि हिजबुल्लाहले इसराइलतर्फ रकेट प्रहार गरेको थियो। त्यसपछि इसराइलले मार्च महिनामा लेबननभित्र सैन्य कारबाही विस्तार गरेको थियो।

यसैक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबपछि हिजबुल्लाह र इसराइलबीच मंगलबार आंशिक युद्धविराम घोषणा गरिएको थियो। ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग टेलिफोन संवाद गर्दै लेबननमा जारी आक्रमण रोक्न आग्रह गरेपछि इसराइलले बेरूतमाथि योजना बनाइएको थप आक्रमण स्थगित गरेको बताइएको छ।

त्यसपछि सुरु भएको युद्धविराम प्रयास अहिले पूर्ण युद्धविरामको सहमतिसम्म पुगेको भए पनि हिजबुल्लाहको असहमतिले यसको भविष्य अनिश्चित बनेको छ।

 

एमालेको नयाँ अभियान, पार्टी सदस्यका छोराछोरीको सम्मेलन गरिने [भिडियो]

काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यता विस्तार तथा नयाँ पुस्तालाई संगठनसँग जोड्ने उद्देश्यसहित पार्टी सदस्यका छोराछोरीको सम्मेलन आयोजना गर्ने योजना अघि सारेको छ।

जेठ २० र २१ गते संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशालाबाट एमालेले पार्टी आबद्ध परिवारका छोराछोरीलाई संगठित गर्ने नयाँ संकल्प सार्वजनिक गरेको हो।

कार्यशालाबाट पारित संकल्पमा नयाँ पुस्तासँग अन्तरसंवाद कार्यक्रम सञ्चालन गर्दै पार्टी सदस्यका छोराछोरीहरूको सम्मेलन सबै तहका कमिटीमार्फत आयोजना गर्ने उल्लेख गरिएको छ।

‘नयाँ पुस्तासँग अन्तरसंवाद कार्यक्रमको आयोजना गरी पार्टी आबद्ध परिवारका छोराछोरीहरूको सम्मेलन सबै कमिटीले आयोजना गर्ने घोषणा गर्दछ,’ संकल्पपत्रमा भनिएको छ।

एमालेका लागि यो अभियान भने नयाँ होइन। २०८० वैशाखमा बसेको केन्द्रीय कमिटीको पाँचौं बैठकले पनि पार्टी सदस्यका छोराछोरीलाई संगठनमा आबद्ध गराउने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

त्यतिबेला केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरूले पार्टीप्रति युवा पुस्ताको आकर्षण घट्दै गएको निष्कर्ष प्रस्तुत गरेका थिए। केही सदस्यहरूले आफ्नै परिवारका छोराछोरीलाई समेत पार्टीको विचार बुझाउन नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नयाँ दलतर्फ मत आकर्षित भएको बताएका थिए।

यही अवस्थालाई मध्यनजर गर्दै एमालेले छोराछोरी अभियान सुरु गर्ने निर्णय गरेको थियो। अभियानअन्तर्गत पार्टीका नेता, कार्यकर्ता तथा सदस्यका सन्तानलाई संगठनसँग जोड्ने, राजनीतिक तथा वैचारिक प्रशिक्षण सञ्चालन गर्ने योजना बनाइएको थियो। केही स्थानमा कार्यक्रम सञ्चालन भए पनि देशव्यापी रूपमा प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन।

एमालेले त्यस अभियानबाट अपेक्षित परिणाम प्राप्त नभएको निष्कर्ष निकाल्दै यसपटक थप व्यवस्थित रूपमा छोराछोरीहरूको सम्मेलन आयोजना गर्ने रणनीति अघि सारेको हो।

बालेनलाई म्यासेज गरेको भन्दै पक्राउ परेका सचिव छुटे

काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर पक्राउ परेको केही घण्टामै रिहा भएका छन्। बिहीबार अपराह्न काठमाडौंको कपनस्थित निवासबाट पक्राउ परेका उनलाई करिब सात घण्टा सोधपुछपछि राति रिहा गरिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पुष्करलाई मोबाइल फोनको अनुचित प्रयोग तथा उच्च पदस्थ व्यक्तिलाई अमर्यादित भाषा प्रयोग गरी सन्देश पठाएको आरोपमा सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो। उनलाई पत्नी आभा श्रेष्ठको जिम्मा जमानीमा छोडिएको बताइएको छ। श्रेष्ठ नेपाल सरकारकी सहसचिव हुन्।

प्रहरी स्रोतका अनुसार पुष्करले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटका लागि समय माग्दा अवसर नपाएपछि उनको निजी नम्बरमा सन्देश पठाएका थिए। उक्त सन्देशमा प्रयोग गरिएको भाषा निजामती कर्मचारीको पदीय मर्यादाविपरीत रहेको आरोप छ।

सोधपुछका क्रममा पुष्करले प्रधानमन्त्री कार्यालय तथा निजी सचिवालयमार्फत आफ्नो कुरा राख्ने अवसर नपाएपछि सन्देश पठाएको बताएका थिए। तर, आफूले अशिष्ट वा अमर्यादित भाषा प्रयोग नगरेको उनको दाबी छ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार प्रधानमन्त्रीको सचिवालयकै आग्रहमा भविष्यमा यस्ता गतिविधि नदोहो¥याउने शर्तमा उनलाई रिहा गरिएको हो।

हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत पुष्कर असार २४ गते सचिव पदको पाँचवर्षे सेवा अवधि पूरा गरी अवकाश हुँदैछन्। अवकाश हुन केही दिनपछि वर्तमान मुख्यसचिव सुमनराज अर्याल पनि सेवामुक्त हुने भएकाले पुष्कर मुख्यसचिव बन्ने दौडमा रहेको चर्चा प्रशासनिक वृत्तमा थियो।

स्रोतका अनुसार उनले मुख्यसचिव नियुक्ति, संवैधानिक निकाय वा अन्य कुनै जिम्मेवारीपूर्ण पदमा अवसर पाउने अपेक्षासहित प्रधानमन्त्रीसँग सम्पर्क गर्न खोजेका थिए। सन्देशमा आफ्नो गृहजिल्ला महोत्तरी, राजदूत पदका लागि दिएको आवेदन तथा सहयोगको अपेक्षासम्बन्धी विषयसमेत उल्लेख गरिएको बताइएको छ।

हर्क साम्पाङ चढेको मोटरसाइकल दुर्घटना, सामान्य घाइते

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन् ।

उदयपुरको बेलकामा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन कटारीबाट जाँदै गर्दा दुर्घटना परेका हुन् ।

उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । उनको हातमा चोट लागेको छ ।

प्रतिनिधि सभा बैठक यही जेठ २५ गतेसम्म स्थगित भएपछि साम्पाङ पार्टीको कार्यक्रमका लागि कोशीको तराईदेखि पहाडी क्षेत्रमा सहभागी भइरहेका छन् ।

रवि आउँदै, शिशिर जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आजदेखि भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको भ्रमण आइतबारसम्म चल्नेछ।

परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा जनस्तरका सम्बन्धलगायत नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल हुने जनाइएको छ।

मन्त्रालयका अनुसार उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानअन्तर्गत हुन लागेको यो भ्रमणले दुई देशबीचको दीर्घकालीन तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ। मन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

यसैबीच, मन्त्री खनालले सरकार सुशासन र तीव्र आर्थिक विकासको लक्ष्यसहित अघि बढिरहेको बताएका छन्। नागरिकको परिवर्तनप्रतिको अपेक्षा बढ्दै गएको उल्लेख गर्दै उनले ती आकांक्षा पूरा गर्न सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।

उनले क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको आवाज र प्राथमिकतालाई प्रभावकारी रूपमा उठाइरहेको उल्लेख गर्दै विकास साझेदारीलाई अझ व्यवस्थित र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए। स्थानीय सरकारलाई बलियो बनाउनु नै विकासका कार्यक्रम तथा सामाजिक क्षेत्रका गतिविधिलाई प्रभावकारी बनाउने आधार भएको उनको भनाइ थियो।

उता, भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भने पाँचदिने भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किने भएका छन्।

लिङ्देनले पूर्वराजालाई नारायणहिटीमा कसरी लैजान्छन् ? (टिप्पणी)

काठमाडौं । ‘काम गर्नै दिएन’ भन्थे- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र उनका समर्थकहरू । अब डा. धवलशम्सेर राणाहरूले पार्टी परित्याग गरिसकेपछि राप्रपालाई उचाइमा पुर्‍याउन लिङ्देनकै भनाइमा कुनै बाधा/अवरोध छैन ।

तर, राप्रपाको म्याद सकिएको विषय कसरी टुंगोमा पुर्‍याउँछन् ? निर्वाचन आयोगको कसरी चित्त बुझाउँछन् लिङ्देनले ? प्रतीक्षाको मुद्दा बनेको छ ।

म्याद गुज्रेर राजनीतिक दलको वैधानिकता अन्त्य भएको विषय निर्वाचन आयोगका लागि पनि नजिर बन्‍ने छ, अहिलेको सन्दर्भमा । अर्ली महाधिवेशन गर्ने भनेर सुरू भएको महाधिवेशनको तालिका पाँचपटक जिल्ला अधिवेशनको मिति थप्दा पनि सम्पन्‍न भएन ।

विविध कारणले नसकिएको महाधिवेशन कसरी सम्पन्‍न गर्छन् लिङ्देनले ? यो पनि प्रतीक्षाको विषय बनेको छ ।

भनिन्छ, लिङ्देनले अन्तिमसम्म महाधिवेशनकै विषयमा डा. राणालाई ‘फसाउन’ खोजेका थिए । तर उल्टै राणाले राप्रपाको वैधानिकता समाप्त गरेको भन्‍ने कडा जवाफ दिएर लिङ्देनलाई फसाए । अब काम गर्न सबै बाटो खुला भएको बेला महाधिवेशन कसरी निष्कर्षमा पुर्‍याउँछन् लिङ्देनले हेर्न बाँकी छ ।

त्यो भन्दा पनि जेठको अन्ततिर तय भएको केन्द्रीय कार्य समितिको बैठक लिङ्देनले गर्छन् कि गर्दैनन् ? गरे भने पार्टी फुटको धब्बाबाट कसरी मुक्त हुन्छन् ? र, केन्द्रीय सदस्यहरूको कसरी चित्त बुझाउँछन् ? यो पनि उत्तिकै पेचिलो प्रश्‍न छ ।

एकता महाधिवेशनको म्याण्डेट शिरोधार्य गर्न नसकेको, राप्रपालाई एक ढिक्का राख्‍न नसकेको दाग त्यसै लागेकै छ लिङ्देनलाई । केन्द्रीय समिति बैठकमा गएर पार्टी परित्याग पनि काम गर्न नदिने अवरोध नै हो भन्‍न मिलेन होला ।

पार्टी विभाजन रोक्न नसकेको दाग कसरी फेस गर्छन् लिङ्देनले ? यो पनि पार्टी जीवनमा गम्भीर असफलता हो । किनकि जिम्मेवारी पन्छाउन, यसअघि जस्तो धवलशमशेरहरू अब राप्रपामा छैनन् । ‘काम गर्न नदिने’ मानिसहरूले राप्रपा छाडिसकेपछि लिङ्देनले अब कस्तो जोश र जाँगरमा काम गर्छन् र पूर्वराजालाई नारायणहिटीमा कसरी लैजान्छन् ? चासाेपूर्वक हेरिएकाे छ ।

सबैभन्दा महत्वपूर्ण विषय महाधिवेशनको मिति लिङ्देनले तोक्छन् कि तोक्दैनन् ? र हेमजंग गुरुङले महाधिवेशनको कार्य तालिका बनाउँछन् कि बनाउँदैनन् ? राप्रपावृत्तमा उत्सुकता बढेकाे छ ।

 

विराटनगर महानगरपालिकाले हासिल गर्‍यो ‘पूर्णखोप सुनिश्चितता’ लक्ष्य

विराटनगर। विराटनगर महानगरपालिकाले ० देखि ५९ महिनासम्मका बालबालिकालाई लक्षित गर्दै सञ्चालन गरिएको पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रममार्फत पूर्णखोप सुनिश्चितताको लक्ष्य हासिल गरेको छ।

महानगरपालिकाको खोप शाखाका अनुसार कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएपछि कुल ११ हजार ६३० जना बालबालिकालाई पूर्णखोपको पहुँचमा पुर्‍याइएको हो। यस उपलब्धिसँगै विराटनगरले खोपबाट रोकथाम गर्न सकिने रोगहरूबाट बालबालिकालाई सुरक्षित बनाउने अभियानलाई थप संस्थागत र दिगो बनाएको बताइएको छ।

विवरणअनुसार पूर्णखोप प्राप्त गर्ने बालबालिकामध्ये ० देखि ११ महिनाका २ हजार १३९ जना, १२ देखि १५ महिनाका ९७७ जना, १६ देखि २३ महिनाका १ हजार ५४८ जना तथा २४ देखि ५९ महिनाका ६ हजार ९६६ जना रहेका छन्।

महानगरका वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कार्कीका अनुसार खोप अभियानले बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने रोगहरूबाट सुरक्षित बनाउन महत्त्वपूर्ण योगदान दिएको छ। उनका अनुसार यसले बाल मृत्युदर घटाउने, रोगको जोखिम न्यूनीकरण गर्ने तथा समग्र रूपमा स्वस्थ समाज निर्माणमा सहयोग पुर्‍याएको छ।

खोप संयोजक सुशील साहले पूर्णखोप कार्यक्रमले दादुरा, रुबेला, पोलियो, क्षयरोग, डिप्थेरिया, कालीखोकी र टिटानसजस्ता रोगबाट बालबालिकालाई जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताए।

त्यस्तै, स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले पूर्णखोप सुनिश्चितताको उपलब्धिलाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण सफलता भएको उल्लेख गरेका छन्।

चर्चाको केन्द्रमा ‘डोनाल्ड ट्रम्प’ भैँसी

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय चिडियाखानामा राखिएको एक दुर्लभ एल्बिनो भैँसी अहिले देशभरि ठूलो आकर्षण बनेको छ।

‘डोनाल्ड ट्रम्प’ नाम दिइएको उक्त भैँसीलाई हेर्न ढाका मात्र नभई विभिन्न क्षेत्रबाट आगन्तुकहरूको भीड लाग्न थालेको छ।

सुनौलो रङको कपाल, पहेँलो सिङ र करिब ७०० किलोग्राम तौल भएको यो भैँसीलाई गत साता चिडियाखानामा सारिएपछि यसको चर्चा अझै बढेको हो। सामाजिक सञ्जालमा यसको तस्बिर र भिडियो भाइरल भएपछि सर्वसाधारणहरू प्रत्यक्ष अवलोकनका लागि चिडियाखानातर्फ आकर्षित भइरहेका छन्।

यो भैँसी सुरुमा इस्लामिक पर्व इद अल-अधाका लागि बलिदानका रूपमा प्रयोग गरिने उद्देश्यले राखिएको थियो। तर सुरक्षा कारण देखाउँदै सरकारले यसलाई राजधानी ढाकास्थित राष्ट्रिय चिडियाखानामा स्थानान्तरण गर्न निर्देशन दिएको थियो।

हाल चिडियाखानामा अत्यधिक गर्मीका बीच पनि ठूलो संख्यामा मानिसहरू भैँसी हेर्न पुगिरहेका छन्। आगन्तुकहरूले खोर वरिपरि भीड लगाउँदै मोबाइल फोनबाट तस्बिर तथा भिडियो खिचिरहेका दृश्य देखिन्छन्। कतिपय अभिभावकले आफ्ना बालबालिकालाई राम्रो दृश्यका लागि काँधमा उचालेर समेत देखाइरहेका छन्।

चिडियाखानाका कर्मचारीहरूले भैँसीको विशेष हेरचाह गरिरहेका छन्। कपाल कोर्ने, पानी हालेर शरीर चिसो राख्ने र गर्मीबाट जोगाउने प्रयास भइरहेको बताइएको छ। आगन्तुकहरूले पनि यसले जनावरलाई विशेष व्यवहार गरिएको अनुभूति दिएको प्रतिक्रिया दिएका छन्।

ढाकाका विद्यार्थी मोहम्मद नासिमले यसको रूपरङ र व्यवहार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको टिप्पणी गर्दै सामाजिक सञ्जालमा भाइरल भएपछि यसले विशेष ध्यान पाएको बताए।

तर सबै आगन्तुकको प्रतिक्रिया एउटै छैन। केहीले जनावरलाई विश्व नेतासँग जोडेर नामकरण गर्नु अनुचित भएको टिप्पणी गरेका छन्। ढाकाका बासिन्दा मोहम्मद जोयनल अदेदिनले यस्तो निर्णय असम्मानजनक देखिएको बताउँदै आलोचना गरेका छन्।

स्थानीय मिडियाका अनुसार चिडियाखानामा सुरुमा ‘डोनाल्ड ट्रम्प’ लेखिएको सूचना बोर्ड राखिएको थियो, जसलाई पछि हटाइएको छ। यस घटनासँग सम्बन्धित रूपमा चिडियाखानाका क्युरेटरलाई शनिबार बर्खास्त गरिएको भए पनि आधिकारिक कारण भने सार्वजनिक गरिएको छैन।

भैँसीको भविष्य पनि इद अल-अधासँग जोडिएको देखिएको छ। सुरुमा बलिदानका लागि बेचिएको भनिएको उक्त भैँसी पछि सरकारी हस्तक्षेपपछि फिर्ता गरिएको थियो। गृहमन्त्री सलाहुद्दीन अहमदको निर्देशनपछि प्रहरी हस्तक्षेप भएको बताइएको छ।

यो घटनाले सामाजिक सञ्जालदेखि सडकसम्म व्यापक चर्चा पाएको छ। दक्षिणपश्चिमी सहर जसोरका आगन्तुक मोहम्मद हबीबुर रहमानले सुरुमा बलिदानका लागि चर्चा भएको भैँसी अहिले चिडियाखानामा राखिएको थाहा पाएपछि हेर्न आएको बताए।

हाल यो भैँसी बङ्गलादेशभरि सामाजिक सञ्जाल र सार्वजनिक चर्चाको केन्द्र बनेको छ।

‘ब्ल्याक होल’बाट ‘ह्वाइट होल’ ?

काठमाडौं। नयाँ वैज्ञानिक अनुसन्धानले ब्रह्माण्ड विज्ञानका केही अत्यन्त गहिरा र रहस्यमय पत्ता लगाएको छ। 

एक अध्ययनअनुसार बिग ब्याङ्गपछि तुरुन्तै बनेका ‘प्रिमोर्डियल ब्ल्याक होल’ पहिले वैज्ञानिकहरूले अनुमान गरेभन्दा धेरै लामो समयसम्म अस्तित्वमा रहन सक्ने सम्भावना देखिएको छ। 

यसमा अझ रोचक त यो छ, यी अत्यन्त साना ब्ल्याक होलहरू अन्ततः ह्वाइट होल जस्तो व्यवहार देखाउने अवस्थासम्म पुग्न सक्ने सम्भावना समेत देखाइएको छ। जसले पदार्थ र ऊर्जा बाहिर फ्याँक्ने तर भित्र केही पनि प्रवेश गर्न नदिने प्रकृतिको संकेत दिएको छ। 

‘प्रिमोर्डियल ब्ल्याक होल’हरू सामान्य स्टेलर ब्ल्याक होलभन्दा फरक हुन्छन्। स्टेलर ब्ल्याक होलहरू ठूला ताराहरूको जीवन अन्त्य भएर पतन हुँदा बन्ने गर्छन्। भने प्रिमोर्डियल ब्ल्याक होलहरू ब्रह्माण्डको सुरुवाती क्षणहरूमा अत्यन्त तातो, घना र अस्थिर अवस्थाहरूमा भएको सूक्ष्म क्वान्टम उतार-चढावबाट बनेका हुन सक्छन् भन्ने सिद्धान्त छ।

यस्ता ब्ल्याक होलहरूहरू अत्यन्त साना पनि हुन सक्छन् र अत्यन्त ठूलो संख्यामा पनि बनेका हुन सक्ने सम्भावना छ । यही कारणले वैज्ञानिकहरूले यिनलाई ‘डार्क म्याटर’को सम्भावित स्रोतका रूपमा पनि अध्ययन गरिरहेका छन्।

ब्ल्याक होलहरूको व्यवहार बुझ्न स्टीफन हकिन द्वारा प्रस्तावित हकिन विकिरण सिद्धान्त अत्यन्त महत्वपूर्ण मानिन्छ। यस सिद्धान्तले ‘ब्ल्याक होल’ पूर्ण रूपमा कालो वस्तु होइन, बरु यसले अत्यन्त सूक्ष्म मात्रामा थर्मल विकिरण उत्सर्जन गर्छ भनेर भन्छ । र यो प्रक्रियामा ब्ल्याक होलले आफ्नो ऊर्जा गुमाउँदै जान्छ र बिस्तारै सानो हुँदै जान्छ। जसलाई बाष्पीकरण भनिन्छ।

यस नियमअनुसार साना ब्ल्याक होलहरू छिटो बाष्पीकरण हुन्छन् भने ठूला ब्ल्याक होलहरू अत्यन्त लामो समयसम्म टिक्न सक्छन्। सम्भवतः ब्रह्माण्डको वर्तमान उमेरभन्दा पनि धेरै लामो समय सम्म टिक्न सक्छन् ।

‘इबर्ली कलेज अफ साइन्स’का अनुसन्धानकर्ता ड्यानियल पाराइजो र उनका सहकर्मीहरूले गरेको गणितीय तथा सैद्धान्तिक विश्लेषणले ब्ल्याक होलहरूको अन्तिम अवस्थाबारे नयाँ दृष्टिकोण प्रस्तुत गरेका छन्। उनीहरूको अनुसन्धान अनुसार, ब्ल्याक होल बाष्पीकरण हुँदै जाँदा जब यो अत्यन्त सानो द्रव्यमान अर्थात् ‘प्लाङ्क मास’को नजिक पुग्छ। तब यसको व्यवहार परम्परागत भौतिक नियमहरूबाट अलग हुन थाल्छ। 

प्लाङ्क मास करिब २० माइक्रोग्राम जति हुन्छ। जुन अत्यन्त सानो भए पनि भौतिकशास्त्रमा एक महत्वपूर्ण सीमा  बाउन्ड्री मानिन्छ ।

‘प्लाङ्क मास’लाई विशेष मानिनुको कारण के हो भने यही बिन्दुमा क्वान्टम भौतिकी र गुरुत्वाकर्षण दुवै प्रभावकारी रूपमा एकैसाथ सक्रिय हुन्छन्।

यस अवस्थालाई बुझ्न अहिलेको भौतिकशास्त्र पूर्ण रूपमा सक्षम छैन। यही कारणले यस चरणलाई ‘प्लाङ्कियन ब्ल्याक’होल भनिन्छ। अनुसन्धानकर्ताहरू भन्छन्, ‘यस अवस्थामा ब्ल्याक होलको परम्परागत संरचना, विशेषगरी घटना क्षितिज, बिस्तारै कमजोर हुँदै जान सक्छ र अन्ततः हराउन पनि सक्छ।’

यस अनुसन्धानको सबैभन्दा महत्वपूर्ण र विवादास्पद पक्ष भने यही अन्तिम चरण हो। पाराइजोका अनुसार, जब ब्ल्याक होल प्लाङ्क मास नजिक पुग्छ। तब यसको पूर्ण बाष्पीकरण तुरुन्तै हुँदैन। बरु, यो एक स्थिर अवस्थाजस्तो व्यवहार देखाउन थाल्छ। यस अवस्थामा ब्ल्याक होलले नयाँ प्रकारको विकिरण उत्सर्जन गर्न सक्छ। जसलाई प्युरिफाइङ विकिरण भनिएको छ। यो विकिरणले ब्रह्माण्डको क्वान्टम अवस्थालाई पुनः संरचना गर्ने वा सफा गर्ने जस्तो प्रभाव देखाउन सक्छ भन्ने परिकल्पना गरिएको छ।

उक्त नयाँ अवस्थाले ब्ल्याक होललाई पूर्ण रूपमा समाप्त गर्नुको सट्टा एक नयाँ प्रकारको वस्तुमा रूपान्तरण गर्न सक्छ। जसलाई बाह्य रूपमा हेर्दा ह्वाइट होल जस्तो देखिन सक्छ। ह्वाइट होल सैद्धान्तिक रूपमा ब्ल्याक होलको उल्टो संरचना हो, जसले पदार्थ र ऊर्जा बाहिर फ्याँक्छ तर कुनै पनि कुरा भित्र प्रवेश गर्न दिँदैन। यदि यस्तो वस्तु अस्तित्वमा आयो भने यसले ब्रह्माण्डमा ऊर्जा प्रवाह र पदार्थ वितरणबारे हाम्रो बुझाइलाई नै परिवर्तन गर्न सक्छ।

तर वैज्ञानिकहरू स्वयं पनि यस निष्कर्षमा सावधानी अपनाउनुपर्ने बताउँछन्। किनभने ह्वाइट होल वा ब्ल्याक होलको यस्तो अन्तिम अवस्था बुझ्न अहिलेको भौतिकशास्त्र पर्याप्त छैन। यसका लागि क्वान्टम ग्राभिटी नामक एकीकृत सिद्धान्त आवश्यक हुन्छ। जुन अहिले पनि पूर्ण रूपमा विकास भएको छैन। 

यद्यपि यो अध्ययन अहिले प्रि-पियर रिभ्यु प्लेटफर्मअर्क्साइभमा मात्र प्रकाशित भएको छ। जसको अर्थ यो प्रारम्भिक अनुसन्धान हो। र अन्तिम वैज्ञानिक प्रमाणको रूपमा स्वीकार गरिएको छैन।

यदि भविष्यमा यी निष्कर्षहरू पुष्टि भएमा, यसले ब्रह्माण्डको प्रारम्भिक अवस्था, ब्ल्याक होलको जीवनचक्र, ऊर्जा क्षय प्रक्रिया, र डार्क म्याटरको रहस्यबारेको आम  बुझाइमा ठूलो क्रान्ति ल्याउन सक्ने दाबी गरिन्छ।

बोल्ड फोटोसुटका कारण चर्चामा आएका बलिउड अभिनेत्री

काठमाडौं। सामाजिक सञ्जाल र मनोरञ्जन उद्योगमा कलाकारहरूको फरक शैलीका फोटोसुटले बेला-बेला ठूलो चर्चा हुने गरेको छ ।

विशेषगरी म्यागजिन कभर, विज्ञापन अभियान वा सामाजिक सन्देशसँग जोडिएका केही बोल्ड फोटोसुटले दर्शक र समीक्षक दुवैको ध्यान तानेका छन्।

बलिउडका केही चर्चित कलाकारले पनि आफ्नो करिअरका विभिन्न चरणमा यस्ता फोटोसुटमार्फत चर्चा बटुलेका थिए। कतिपयले यसलाई कला र आत्मअभिव्यक्तिको माध्यम माने भने कतिपयले सामाजिक सन्देश प्रवाह गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन्।

सन्नी लियोनीले आफ्ना पति डेनियल वेबरसँग मिलेर पशु अधिकारसम्बन्धी अभियानमा सहभागी हुँदै चर्चित फोटोसुट गराएकी थिइन्। लामो समय अन्तर्राष्ट्रिय मनोरञ्जन क्षेत्रमा सक्रिय रहेकी उनी सन् २०१२ मा फिल्म जिस्म २ मार्फत बलिउडमा प्रवेश गरेकी थिइन्। त्यसयता उनले विभिन्न सामाजिक अभियानमा पनि सहभागिता जनाउँदै आएकी छन्।

सन् २०१७ मा इशा गुप्ता सामाजिक सञ्जालमा सार्वजनिक गरेका आफ्ना केही तस्वीरका कारण व्यापक चर्चामा आएकी थिइन्। फिल्म बादशाहो प्रदर्शनको समय सार्वजनिक भएका ती तस्वीरले समर्थक र आलोचक दुवैको प्रतिक्रिया पाएका थिए। इशाले भने त्यसलाई आफ्नो व्यक्तिगत अभिव्यक्ति र आत्मविश्वाससँग जोडेर हेर्नुपर्ने बताएकी थिइन्।

कल्कि कोचलिनले पनि एउटा चर्चित म्यागजिनका लागि गराएको कलात्मक फोटोसुटपछि धेरै चर्चा बटुलेकी थिइन्। उनले उक्त अभियानलाई शरीरप्रति सकारात्मक सोच र महिलाको स्वतन्त्र अभिव्यक्तिसँग जोडेर व्याख्या गरेकी थिइन्। सामाजिक सञ्जालमा यस विषयले लामो समयसम्म बहसको रूप लिएको थियो।

बलिउडमा परम्परागत सुन्दरताको परिभाषाभन्दा फरक पहिचान बनाएकी कलाकारका रूपमा विद्या बालन चिनिन्छिन्। चर्चित फोटोग्राफर डब्बु रत्नानीको वार्षिक क्यालेन्डरका लागि उनले दिएको बोल्ड पोजले पनि निकै चर्चा पाएको थियो। त्यसबेला उनको प्रस्तुतिलाई लिएर मिश्रित प्रतिक्रिया आए पनि विद्याले कलाकारका लागि आत्मविश्वास र सिर्जनात्मक स्वतन्त्रता महत्वपूर्ण हुने धारणा राख्दै आएकी छन्।

यस्तै, शर्लिन चोपडापनि आफ्नो साहसी फोटोसुटका कारण लामो समयदेखि चर्चामा रहने कलाकारमध्ये एक हुन्। मोडलिङ र मनोरञ्जन क्षेत्रमा सक्रिय उनले विभिन्न अन्तर्राष्ट्रिय प्रकाशनसँग समेत काम गरेकी छन्।

मनोरञ्जन उद्योगमा यस्ता फोटोसुटलाई एक समय केवल विवादको विषयका रूपमा हेरिन्थ्यो। तर पछिल्ला वर्षहरूमा धेरै कलाकारले यसलाई सिर्जनात्मक अभिव्यक्ति, आत्मविश्वास, शरीरप्रति सकारात्मक दृष्टिकोण तथा सामाजिक सन्देश प्रवाह गर्ने माध्यमका रूपमा प्रस्तुत गर्न थालेका छन्।

यद्यपि यस्ता प्रस्तुतिहरूले समाजमा फरक-फरक धारणा र बहस भने निरन्तर जन्माइरहेका छन्।

राप्रपा छाड्नेको संख्या १९२ पुग्यो (सूचीसहित)

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन भएको छ। डा. धवलशम्शेर राणाको समूहले आज राजधानीको होटल येलो प्यागोडामा एक कार्यक्रम गर्दै सामूहिक राजीनामा दिएको हो। आज भएको कार्यक्रममार्फत १८३ जनाले राजीनामा दिएका थिए। तर यो सूची बढेर १९२ पुगेको छ।

राप्रपाको सामूहिक राजीनामा दिने समूहको थपिएको सूचीमा केन्द्रीय सल्लाहकार समिति सदस्य राजकुमार जोशी, पूर्व केन्द्रीय सदस्य मदन पोखरेल, मनिष शर्मा, राधा शाही, विना अधिकारी, विमल अधिकारी, पशुपति कठायत, प्रविणकुमार शेरचन लगायतका नेता तथा कार्यकर्ता छन्।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादी आन्दोलन तुहाएको भन्दै राणा समूहले पार्टी छोडेको हो। बिहीबार भएको कार्यक्रममा पहिलो चरणमा पार्टी परित्याग गर्नेहरूमा महामन्त्री डा. धवलशम्शेर राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी लगायतका नेता रहेका छन्।

 

बालेनको बचाउमा उत्रियो रास्वपा – ‘कूटनीतिक पहल राष्ट्रघात होइन’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले नेपाल-भारत सीमा विवाद समाधानका लागि भइरहेको कूटनीतिक पहललाई राष्ट्रघातको रूपमा व्याख्या नगर्न आग्रह गरेकी छन्।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसद्को प्रश्नोत्तर कार्यक्रममा सीमा समस्याबारे दिएको अभिव्यक्तिपछि विभिन्न राजनीतिक वृत्तमा बहस चर्किरहेका बेला उनले यस्तो धारणा सार्वजनिक गरेकी हुन्।

धितालले सीमा सम्बन्धी विषय नेपालका लागि अत्यन्त संवेदनशील, भावनात्मक र दशकौँदेखि समाधान हुन नसकेको राष्ट्रिय मुद्दा भएको उल्लेख गर्दै यस विषयलाई लिएर प्रधानमन्त्रीलाई अनावश्यक रूपमा विवादमा तान्ने प्रयास भइरहेको बताइन्।

उनका अनुसार छिमेकी मुलुकसँगका सीमा समस्या कुनै एक बैठक, एक भ्रमण वा एक अभिव्यक्तिले समाधान हुने विषय होइन। यस्ता जटिल मुद्दामा राजनीतिक, प्राविधिक र कूटनीतिक तहमा लामो समयसम्म निरन्तर छलफल र समझदारी आवश्यक पर्ने उनले जिकिर गरिन्।

उनले विगतका सरकारले पनि छिमेकी राष्ट्रसँग विभिन्न सन्धि, सम्झौता र समझदारी गरेका स्मरण गराउँदै कतिपय विषयमा राष्ट्रिय हितका दृष्टिले प्रश्न उठे पनि त्यसको मूल्यांकन समग्र सन्दर्भ र परिणामका आधारमा हुनुपर्ने धारणा राखिन्।

‘अघिल्ला सरकारहरूको कार्यकालमा वार्ताको प्रक्रिया नै अघि बढ्न नसकेको अवस्था थियो। अहिले कम्तीमा संवाद र कूटनीतिक माध्यमबाट समाधान खोज्ने वातावरण बनेको छ,’ उनले भनिन्।

धितालले सीमा विवाद समाधानको चरणमा पुग्दा दुवै देशमा राजनीतिक बहस, संसदीय छलफल र सार्वजनिक चासो बढ्नु स्वाभाविक प्रक्रिया भएको बताइन्। तर यस्ता विषयमा धैर्य, संयम र आपसी विश्वास आवश्यक हुने उनको भनाइ छ।

उनले प्रधानमन्त्रीलाई समयअघि नै खलनायकका रूपमा चित्रण गर्ने, नागरिकमा शंका र अविश्वास फैलाउने तथा हरेक कूटनीतिक प्रयासलाई राष्ट्रघातको दृष्टिले हेर्ने प्रवृत्तिले समाधानको बाटो सहज नबनाई झन् अवरोध सिर्जना गर्न सक्ने बताइन्।

रास्वपाको नेतृत्वले राष्ट्रिय हितविपरीत कुनै पनि निर्णय नगर्ने दाबी गर्दै उनले राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र नेपाली जनताको हितभन्दा माथि कुनै पनि सम्बन्ध, दबाब वा स्वार्थ हुन नसक्ने स्पष्ट पारिन्।

धितालले दशकौँसम्म शासन सञ्चालन गरेर पनि सीमा समस्या समाधान गर्न नसकेका राजनीतिक शक्तिहरूले अहिले समाधानको प्रयास गरिरहेकाहरूलाई विश्वास गर्ने वातावरण निर्माण गर्नुपर्ने बताइन्।

उनका अनुसार यस्ता जटिल राष्ट्रिय मुद्दाको मूल्यांकन तत्कालको अभिव्यक्ति वा भ्रमणका आधारमा नभई सम्पूर्ण कूटनीतिक प्रक्रिया र त्यसबाट आउने परिणामका आधारमा गरिनु उपयुक्त हुन्छ।

उनले भावनात्मक उत्तेजना फैलाएर ‘खोक्रो राष्ट्रवाद’को राजनीति गर्नुको सट्टा कूटनीतिक प्रक्रियालाई आवश्यक समय दिनुपर्ने धारणा व्यक्त गर्दै राष्ट्रिय महत्वका विषयमा धैर्य, संयम र विश्वास नै सफल समाधानका आधार हुने उल्लेख गरिन्।

भ्युजका लागि गोरुलाई यातना दिएर भिडियो बनाउने व्यक्ति पक्राउ [भिडियो]

काठमाडौं।  सामाजिक सञ्जालमा धेरै भ्युज र चर्चा बटुल्ने उद्देश्यले घरपालुवा गोरुमाथि निर्दयी व्यवहार गरेको भिडिओ सार्वजनिक गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार पक्राउ पर्नेमा गौमुखी गाउँपालिका–१ का ३६ वर्षीय जालीराम थापामगर रहेका छन्। उनले आफ्नै खेतमा जोत्ने क्रममा गोरुले हिँड्न नसकी खेतमै बसेपछि त्यसलाई उठाउनका लागि कुटपिट र दुर्व्यवहार गरेको दृश्य भिडियोमा कैद गरी फेसबुक र टिकटकमा पोस्ट गरेका थिए।

प्रहरीका अनुसार सार्वजनिक भएको भिडियोमा थापामगरले गोरुको नाक र मुख माटोमा गाडेर कुटपिट तथा हिर्काउने जस्ता अमानवीय व्यवहार गरेको देखिएको छ। उक्त भिडियो सामाजिक सञ्जालमा फैलिन थालेपछि घटनाबारे प्रहरीको ध्यानाकर्षण भएको थियो।

घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने सम्बन्धी व्यवस्थाअनुसार मुद्दा दर्ता गरेको छ। संहिताको परिच्छेद २७ को दफा २९० अनुसार पशुपन्छीमाथि क्रूर वा अमानवीय व्यवहार गर्न पाइँदैन।

प्रहरीले तालुक जिल्ला प्रशासन कार्यालय प्युठानबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हरि भट्टराईका अनुसार सामाजिक सञ्जालमा लोकप्रियता हासिल गर्ने नाममा पशुपन्छीमाथि हिंसा वा यातना दिने कार्य कानुनविपरीत भएकाले यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरिएको छ।

चौतर्फी घेराबन्दीबीच नेतृत्वमा दृढ देखिए ओली

काठमाडौं । ‘सजिलो पर्‍यो, अनुकूल वातावरण बन्यो, प्रधानमन्त्री खान पाइने भयो भने कस्सिएर अगाडि बढ्ने, प्रधानमन्त्री खाने, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर बीचमै अलपत्र छोडेर हिँड्ने हो कि भन्‍ने आशंका मनमा नलिनुहोला।’

बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको यो अभिव्यक्तिले एउटा स्पष्ट सन्देश दियो- उनी स्वेच्छिक रूपमा नेतृत्व छाड्ने मनस्थितिमा छैनन्।

२१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका ओलीले एक घण्टा बढी समय बोले। आफ्नो सम्बोधनमा उनले निर्वाचन परिणाम, २३ र २४ भदौको जेन-जी विद्रोह, कार्की आयोग, आफ्नै पक्राउ प्रकरण, पार्टी संगठन र कार्यकर्ताको भूमिकालगायत विभिन्‍न विषय उठाए।

तर, उनको सम्बोधनको केन्द्रमा एउटा कुरा स्पष्ट देखिन्थ्यो- नेतृत्व हस्तान्तरणको बहसलाई अस्वीकार र अझै पार्टीको नेतृत्वमा रहने इच्छा।

सम्बोधनका क्रममा उनले भने, ‘कसैलाई आशंका हुन सक्छ कि मैले बीचमै झोला फ्याँकेर पार्टीलाई अलपत्र छोड्छु कि। त्यस्तो आशंका मनमा नराख्नुस्। म अप्ठ्यारो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाउँछु। पार्टीलाई सफलताको दिशामा पुर्‍याएपछि मात्र, पार्टीको विधि र विधानअनुसार विश्राम लिने अवस्था आउँछ।’

यो एमालेभित्र पछिल्लो समय बढिरहेको नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहसप्रति ओलीको जवाफ थियो।

२०७१ सालको नवौं महाधिवेशनपछि लगातार अध्यक्ष बनेका ओलीले करिब डेढ दशक एमालेको नेतृत्व गरिसके । यस अवधिमा उनी नेपाली राजनीतिका सबैभन्दा शक्तिशाली नेतामध्ये एक बने।

राष्ट्रियतावादी छवि, आक्रामक शैली र प्रभावशाली वाक्पटुता कारण उनी लोकप्रियताको शिखरमा पुगे। तर समयसँगै उनीलक्षित आलोचना पनि बढ्दै गयो। त्यो आलोचनाको प्रमुख कारक उनी स्वयम् बने। 

अहिले एमालेभित्रै ओली अल्पमतमा छन् । एक समय निर्विवाद र निर्विकल्प नेता मानिने ओली अहिले आफ्नै पार्टीभित्र चुनौतीको सामना गरिरहेका छन्। पार्टीको संगठनात्मक अवस्था, चुनावी परिणाम र जनमतको गिरावटलाई लिएर नेताहरू खुला रूपमा प्रश्‍न उठाउन थालेका छन्।

ओली अध्यक्ष बनेपछि पार्टीका धेरै प्रभावशाली नेताहरू एमालेबाट बाहिरिए। पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनालदेखि भीम रावल, घनश्याम भुसाल र वामदेव गौतमसम्म विभिन्‍न कारणले पार्टीबाट अलग भए।

ओलीका आलोचकहरू भन्छन् – उनले वैचारिक बहसलाई संस्थागत रूपमा व्यवस्थापन गर्नुको सट्टा असहमतिहरूलाई निषेध गर्ने शैली अपनाए। परिणामस्वरूप एमालेले आफ्नो अनुभव, विविधता र आन्तरिक सन्तुलन गुमाउँदै गयो।

ओलीको राजनीतिक जीवनको सबैभन्दा ठूलो सफलता २०७४ सालको आमनिर्वाचन थियो। तत्कालीन नेकपाले करिब दुईतिहाइ बहुमत हासिल गर्‍यो।

प्रतिनिधिसभामा १७४ सिटसहितकाे त्यो जनमत नेपाली कम्युनिस्ट आन्दोलनकाे सबैभन्दा ठूलो उपलब्धिमध्ये एक थियो। त्यसपछि ओली प्रधानमन्त्री बने। जनताले राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनको अपेक्षा गरेका थिए। तर नेकपा पार्टी नै टिकेन।

प्रधानमन्त्री बनेको ४२ महिना नपुग्दै ओली सरकारले आफ्नो शक्ति गुमायो। दुईपटक संसद् विघटन गर्ने निर्णय सर्वोच्च अदालतबाट बदर भयो। ओली सरकारबाट बाहिरिए। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विभाजनको अवस्थामा पुग्यो।

एमाले फुटेर नेपाल, खनाल लगायतका नेताहरुले नेकपा एकीकृत समाजवादी गठन गरे। रावल कारबाहीमा परे । घनश्याम भुषाल छुट्टै राजनीतिक अभियानतिर लागे।  आलाेचकहरुका अनुसार यहीँबाट एमालेको ओरालो यात्रा सुरु भयो। 

ओलीले इतिहासकै सबैभन्दा शक्तिशाली जनादेश जोगाउन सकेनन्। ओलीले याे स्वीकारेका छन् । आफू नेतृत्वकाे त्यसबेलाकाे सरकार र तत्कालीन नेकपा विभाजन बचाउन सकेको भए नेपालको राजनीतिक इतिहास फरक हुन सक्थ्यो भन्ने धारणा अझै पनि एमालेभित्र सुनिन्छ। तर त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्नमा पार्टी र सरकारको नेतृत्वमा रहेका कारण धेरै औंला ओलीतर्फ सोझिने गरेका छन् ।

२०७९ को निर्वाचनमा एमाले पहिलो शक्तिबाट दोस्रो शक्तिमा खुम्चियो। त्यसपछि पार्टीको जनमत ओरालो लागिरह्यो। यही बिचमा कांग्रेससँग सहकार्य गर्दै ओली चौथोपटक सरकारको नेतृत्वमा पुगे।

उनको चौथो कार्यकाल भने एमालेकै लागि प्रत्युत्पादक बन्‍न पुग्यो। देशले अत्यासलाग्दो आन्दोलन र सबैभन्दा ठूलो राजनीतिक परिवर्तन देख्यो।  

२१ फागुनको निर्वाचनमा एमाले इतिहासकै कमजोर अवस्थामा पुग्यो। १६५ प्रत्यक्ष सिटमध्ये पार्टीले जम्मा ९ सिट जित्यो। यो परिणाम एमालेका लागि मात्र होइन, समग्र कम्युनिस्ट आन्दोलनकै लागि ठूलो धक्का थियो।

अध्यक्ष ओली स्वयं आफ्नै निर्वाचन क्षेत्रमा ५० हजारभन्दा बढी मतान्तरले पराजित भए। पदाधिकारी तहका कुनै पनि नेताले चुनावी सफलता हासिल गर्न सकेनन्।

राजनीतिक विश्लेषकहरूका अनुसार यो एमालेको पराजय आकस्मिक थिएन। उनीहरुका अनुसा जेन-जी विद्रोहपछि एमाले नेतृत्वबाट आएका आक्रामक अभिव्यक्ति, आन्दोलनको अस्वीकार्यता र बदलिँदो राजनीतिक मनोविज्ञानलाई बुझ्न नसक्नु मुख्य कारण हाे ।

२३ र २४ भदौको जेन-जी विद्रोह नेपाली राजनीतिको अकल्पनीय मोड थियो। भ्रष्टाचारविरुद्ध, सुशासनको पक्षमा र विगत लामो समयदेखि सत्ताको केन्द्र भागमा रहेका राजनीतिक दलहरूको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै हजारौं युवा सडकमा उत्रिए। यही आन्दोलनको बलमा देशको राजनीतिक समीकरण बदलियो।

तर एमालेले आजसम्म पनि उक्त घटनालाई आन्दोलनका रूपमा स्वीकार गरेको छैन। ओली आन्दोलनकारी युवाहरूलाई देशद्रोही प्रवृत्तिको संज्ञा दिन्छन्। भनिन्छ, गत २१ फागुनको निर्वाचनमा एमाले पराजयको एउटा कारण याे पनि हो। 

थाहा छ कि पञ्‍चायती व्यवस्था फाल्न एमालेले आन्दोलन गरेको छ।  २०४६ को राजनीतिक परिवर्तनमा उसको महत्वपूर्ण योगदान छ। २०६२/०६३ को जनआन्दोलनको  प्रमुखमध्येकाे एक शक्ति हो। यो देशका विभिन्‍न परिवर्तनमा एमाले अग्रभागमा छ । तर २३ भदौमा भ्रष्टाचारविरुद्धको नारासहित  सुशासनको माग गर्दै सडकमा ओर्लीएका युवाहरुलाई ओलीले विध्वंशकारी र देशद्रोही भनेका छन् ।

पुस ३ गते काठमाडौंमा सम्पन्‍न एमाले महाधिवेशनमै नेतृत्व परिवर्तनको प्रयास भएको थियो। ईश्वर पोखरेलले अध्यक्ष पदमा ओलीसँग प्रतिस्पर्धा गरे। उनी पराजित भए पनि गोकर्ण विष्ट र योगेश भट्टराई फरक धारबाट नेतृत्व तहमा पुगे। त्यसयता भने एमालेभित्र नेतृत्व हस्तान्तरणको बहस निरन्तर चलिरहेको छ।

२१ फागुनको निर्वाचनपछि बसेको सचिवालय बैठकमा पनि पार्टी पुनर्गठनको मुद्दा प्रमुख रूपमा उठेको बताइन्छ। शंकर पोखरेल, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङलगायत नेताहरूले वर्तमान शैलीमा पार्टी अगाडि बढ्न नसक्ने निष्कर्ष प्रस्तुत गरेको चर्चा छ।

यथास्थिति र वर्तमान नेतृत्वलाई लिएर एमाले अघि बढ्न नसक्ने एमाले पुनगठनको बहस चलाउने नेताले बताउने गरेका छन्।  बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले यो कुरा दोहोर्याए। उनले भने, ‘समयानुकूल पार्टीमा व्यापक पुनगठन गरेर अघि बढ्छौँ।’

सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल गठन गरेको छ । यो कार्यदलले आगामी एकमहिना भित्र वर्तमान स्थिति र पुनगठनको आवश्यकताका सन्दर्भमा पार्टीको तल्लो तहदेखि प्रतिवेदन तयार गर्ने जिम्मा पाएको छ।  

कुनै समय ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’ भन्ने नारा युवापंक्ति लाउँथे । त्यसमध्ये केही नेतृत्व हस्तान्तरणको पक्षमा देखिएका छन् केही नेतृत्वमा ओलीकाे विकल्प खाेज्‍न नहुने बताइरहेका छन् ।

पछिल्लो समय ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता फुकुवा गर्ने निर्णय गरे। यो निर्णय पनि एमालेभित्रको शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ। अघिल्लो वर्ष सदस्यता राेकेकाे आराेप अध्यक्ष ओलीलाई लाग्याे । तर अहिलेको निर्णयलाई धेरैले ओलीको राजनीतिक बाध्यता र रक्षात्मक रणनीतिका रूपमा व्याख्या गरेका छन्।

आज एमाले रक्षात्मक अवस्थामा छ। राष्ट्रिय राजनीतिमा उसको प्रभाव खुम्चिएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्किएको छ। चुनावी परिणाम निराशाजनक छन्। पुराना समर्थकहरू निराश छन् र युवापुस्ताको आकर्षण घटेको छ। भएका पार्टी कार्यकर्ता पलायनको अवस्थामा छन्। यस्तो अवस्थामा पनि ओलीले नेतृत्व हस्तान्तरण नगर्ने बताए ।

उनले बुधबारको कार्यक्रममा स्पष्ट रूपमा भने, ‘नेतृत्व विधि र विधानअनुसार मात्र छाडिनेछ।’ अर्थात्, तत्काल स्वेच्छिक रूपमा पदत्याग गर्ने कुनै संकेत छैन। ओलीको सन्देश छ- उनी अझै नेतृत्व छाड्ने पक्षमा छैनन्। 

 

प्रधानमन्त्री बालेनको एक वाक्य, ठूलो संकट : माफी कि राजीनामा ? (भिडियो वार्ता)

काठमाडौं । सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल-भारत सीमासम्बन्धी अभिव्यक्तिका कारण प्रधानमन्त्री बालेन्द्र शाहले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन्।

प्रधानमन्त्री शाहले संसदमा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न विवादबारे बोल्दै श्रेष्ठले उक्त भनाइ प्राविधिक रूपमा गलत भएको टिप्पणी गरे।

‘दखल र अतिक्रमण फरक विषय हुन्। नेपाली किसानले कतै भारतीय किसानको भोगचलनको जमिन उपयोग गरेको हुन सक्छ, तर त्यसलाई नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्न मिल्दैन,’ श्रेष्ठले भने।

उनले सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट तथ्यगत त्रुटि भएको उल्लेख गर्दै आवश्यक ठानेमा माफी माग्नुपर्ने र गम्भीर राजनीतिक तथा नैतिक जिम्मेवारी लिनुपर्ने बताए।

‘यदि राष्ट्रिय संवेदनशीलतासँग जोडिएको विषयमा गम्भीर त्रुटि भएको महसुस गर्नुहुन्छ भने प्रधानमन्त्रीले त्यसअनुसार निर्णय लिन सक्नुहुन्छ। राजीनामा दिने वा नदिने उहाँको नैतिक र राजनीतिक निर्णयको विषय हो,’ श्रेष्ठको भनाइ छ।

नेपालले भारतको भूमि मिचेको छ कि छैन ? यही मूल प्रश्नको वरिपरी रहेर सीमाविद् श्रेष्ठसँग गरिएको संवादको सम्पादित अंश:

प्रधानमन्त्री बालेन शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्नुभयो। नेपालले भारतको जग्गा मिचेको छ कि छैन ?

प्राविधिक दृष्टिकोणले नेपालले भारतको जग्गा मिचेको छैन। नेपाल र भारतबीच १ हजार ८८० किलोमिटर लामो सीमा छ। उक्त सीमामा भारतले ठूलो संख्यामा सीमा सुरक्षा बल (एसएसबी) तैनाथ गरेको छ। सीमावर्ती क्षेत्रमा नेपाली नागरिक गल्तीवश केही मिटर भारतीय भूभागतर्फ पुगेको अवस्थामा समेत भारतीय सुरक्षाकर्मीले रोक्ने वा हस्तक्षेप गर्ने गरेका छन्। त्यसैले नेपालले भारतको भूमि अतिक्रमण गरेको छ भन्ने निष्कर्षमा पुग्‍न सकिँदैन।

मलाई लाग्छ, प्रधानमन्त्रीलाई सीमासम्बन्धी विषयमा गरिएको ब्रिफिङका क्रममा कतिपय प्राविधिक पक्ष ठीकसँग बुझाइएन । सीमाका केही क्षेत्रमा सीमारेखा अस्पष्ट भएका कारण भारतीय किसानले नेपाली किसानको भोगचलनको जमिन उपयोग गरेका छन् भने नेपाली किसानले पनि भारतीय किसानको भोगचलनमा रहेको जमिन उपयोग गरेका छन्। यसलाई अंग्रेजीमा ‘क्रस होल्डिङ अकुपेसन’ भनिन्छ।

प्रधानमन्त्रीले सम्भवतः यही सन्दर्भलाई बुझ्दा नेपालीले पनि भारतीय भूमि मिचेका रहेछन् भन्‍ने निष्कर्ष निकाल्नुभयो। तर प्राविधिक रूपमा यो निष्कर्ष सही होइन।

त्यसो भए प्रधानमन्त्रीको अभिव्यक्ति गलत थियो ?

प्राविधिक हिसाबले गलत थियो। किसानस्तरमा भएको भोगचलन वा दखललाई अतिक्रमण भन्‍न मिल्दैन। अतिक्रमण भनेको एउटा राष्ट्रले अर्को राष्ट्रको भूभाग कब्जा गर्नु हो। नेपाली किसानले कतै भारतीय किसानको भोगचलनको जमिन उपयोग गरेको हुन सक्छ, तर त्यसलाई राष्ट्रस्तरीय अतिक्रमण भन्न सकिँदैन।

मलाई लाग्छ- प्रधानमन्त्रीले तयारीबिना संसदमा बोल्दा शब्द चयनमा त्रुटि गर्नुभयो। ‘दखल’ भन्‍नुपर्ने ठाउँमा ‘अतिक्रमण’ शब्द प्रयोग भयो। त्यसैले उहाँको अभिव्यक्ति प्राविधिक रूपमा सही मान्‍न सकिँदैन।

विपक्षी दलहरूले प्रधानमन्त्रीले माफी माग्नुपर्ने वा राजीनामा दिनुपर्ने माग गरिरहेका छन्। यो विषय कसरी समाधान हुनुपर्छ ?

यो विषय कूटनीतिक र राजनीतिक दुवै रूपमा सम्बोधन गर्नुपर्छ। प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबाट भ्रम सिर्जना भएको महसुस गर्नुभयो भने स्पष्टीकरण दिन सक्नुहुन्छ। आवश्यक ठाने माफी पनि माग्न सक्नुहुन्छ।

राजीनामा दिने वा नदिने विषय उहाँको नैतिक र राजनीतिक निर्णय हो। यदि आफूबाट राष्ट्रिय संवेदनशीलतासँग सम्बन्धित विषयमा गम्भीर त्रुटि भएको ठान्‍नुहुन्छ भने त्यसअनुसार निर्णय लिन सक्नुहुन्छ। कम्तीमा पनि ‘दखल’ भन्‍नुपर्ने ठाउँमा ‘अतिक्रमण’ शब्द प्रयोग भएको स्पष्ट पारेर माफी माग्‍न सकिन्छ।

अहिले नेपाल-भारत सीमामा मुख्य विवादित क्षेत्र कुन-कुन हुन् ?

नेपाल र भारतबीच १ हजार ८८० किलोमिटर लामो सीमारेखा छ। मेरो अध्ययनअनुसार ७१ स्थानमा सीमासम्बन्धी विवाद, दाबी-प्रतिदाबी वा अतिक्रमणका विषय रहेका छन्।

मुख्य रूपमा दार्चुलाको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रको करिब ३७२ वर्ग किलोमिटर भूभाग विवादको केन्द्रमा छ। त्यसैगरी नवलपरासीको सुस्ता क्षेत्रमा करिब १४५ वर्ग किलोमिटर भूभाग विवादित छ।

त्यसबाहेक कञ्चनपुरको गड्‍डाचौकी क्षेत्र, इलामको सन्दकपुर क्षेत्र तथा पशुपतिनगर आसपासका केही भूभागमा पनि सीमासम्बन्धी विवाद र दाबी-प्रतिदाबी रहेका छन्।

नेपालले आफ्नो दाबी गरिरहेको भूभाग फिर्ता पाउन के गर्नुपर्छ ?

नेपालसँग ऐतिहासिक नक्सा, दस्तावेज, जनगणनाका अभिलेख तथा प्रशासनिक प्रमाणहरू छन्। सन् १८१९, १८२७, १८५६ लगायतका विभिन्‍न नक्साहरू उपलब्ध छन्। गुन्जी, नाबी र कुतिका बासिन्दाले नेपालको निर्वाचनमा मतदान गरेको इतिहास पनि छ।

यस्ता प्रमाणका आधारमा नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूभाग भएको दाबी गर्दै आएको छ। तर भारतले त्यसलाई स्वीकार गरेको छैन।

नेपालले आफ्नो दाबी कूटनीतिक माध्यमबाट निरन्तर उठाइरहनुपर्छ। प्रमाणका आधारमा वार्तामा जानुपर्छ र अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो पक्ष स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्छ।

प्रधानमन्त्री बालेनले नेपाल-भारत सीमा विवाद समाधानका लागि तेस्रो पक्षको मध्यस्थता आवश्यक हुन सक्ने बताएका छन् । यो सम्भव छ ?

अन्तर्राष्ट्रिय सीमासम्बन्धी सिद्धान्तअनुसार पहिलो प्राथमिकता संवाद, छलफल र द्विपक्षीय वार्तालाई दिइन्छ। दुई देशले आफैं समाधान खोज्ने प्रयास गर्नुपर्छ।

यदि त्यसबाट समाधान भएन भने मात्र तेस्रो पक्षको भूमिका आउन सक्छ। तर तेस्रो पक्षको संलग्नताका लागि दुवै देशको सहमति आवश्यक हुन्छ। नेपालले चाहे पनि भारत तयार नभएसम्म तेस्रो पक्षको मध्यस्थता सम्भव हुँदैन।

भारतीय विदेश मन्त्रालयले तेस्रो पक्षको संलग्नता अस्वीकार गरिसकेको छ। त्यसैले अहिलेको अवस्थामा त्यो विकल्प व्यावहारिक देखिँदैन।

प्रधानमन्त्रीको सीमा विषयक बुझाइ परिपक्‍व नभएको टिप्पणी पनि भइरहेको छ। तपाईंको धारणा के छ ?

मलाई लाग्छ, प्रधानमन्त्रीले पर्याप्त अध्ययन र तयारीबिना केही विषयमा धारणा सार्वजनिक गर्नुभएको देखिन्छ। सीमाजस्तो संवेदनशील विषयमा बोल्दा तथ्य, इतिहास, अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक प्रभावबारे गहिरो अध्ययन आवश्यक हुन्छ।

राज्यका उच्च पदाधिकारीले बोल्ने प्रत्येक शब्दले राष्ट्रिय हित र कूटनीतिक सम्बन्धमा प्रभाव पार्न सक्छ। त्यसैले यस्तो विषयमा बोल्दा विशेष सावधानी अपनाउनुपर्छ।

सार्वजनिक पदाधिकारीले सीमासम्बन्धी विषयमा बोल्दा के कुरामा ध्यान दिनुपर्छ ?

पहिलो कुरा, पर्याप्त तयारी गर्नुपर्छ। दोस्रो, स्थापित तथ्य र प्रमाणमा आधारित भएर बोल्नुपर्छ। तेस्रो, राष्ट्रिय हित र कूटनीतिक संवेदनशीलतालाई ध्यान दिनुपर्छ।

नेपाल र भारतबीच सीमासम्बन्धी विषय हेर्ने विभिन्‍न संयन्त्रहरू बनेका छन्। परराष्ट्र सचिवस्तरीय संयन्त्र, प्राविधिक समिति तथा सीमा कार्यसमूहहरू सक्रिय बनाएर समस्या समाधानतर्फ अघि बढ्नुपर्छ।

वार्ताबाट समाधान सम्भव छ ?

सम्भव छ। अन्तर्राष्ट्रिय सम्बन्धमा संवाद, छलफल, वार्ता, समझदारी र विश्वास निर्माण अत्यन्त महत्वपूर्ण हुन्छन्। नेपाल र भारतले नियमित संवाद जारी राखे समाधानको बाटो खुल्छ।

समस्या समाधानका लागि दुवै पक्षले एकअर्कालाई विश्‍वास गर्नुपर्छ। अहिले विश्‍वासको अभाव देखिन्छ। यही कारणले सीमा समस्या जटिल बनेको छ।

केही अन्तर्राष्ट्रिय उदाहरणहरू पनि छन् ?

छन्, भारत र बंगलादेशले सीमा विवाद समाधान गर्दा भूभाग साटासाटको मोडल अपनाएका थिए। भारतले १११ वटा इन्क्लेभ बंगलादेशलाई दियो भने बंगलादेशले ५१ वटा इन्क्लेभ भारतलाई दियो। त्यसपछि दुई देशबीचको सीमा समस्या समाधान भयो।

यसलाई ‘बंगलादेश मोडल’ भनिन्छ। नेपाल-भारत सम्बन्धमा पनि अन्तर्राष्ट्रिय अभ्यासबाट सिक्न सकिन्छ, यद्यपि कालापानी-लिम्पियाधुरा जस्ता विषयमा यसको प्रयोग सम्भव छ वा छैन भन्‍ने अलग बहसको विषय हो।

नेपाल-भारत सीमा विवाद उठ्नेबित्तिकै नेपाली समाजमा राष्ट्रवादी भावना किन बलियो हुन्छ ?

यो विषय नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय सार्वभौमिकतासँग जोडिएको छ। देशको एक वर्ग किलोमिटर भूभाग गुम्नु भनेको केवल जमिन गुम्नु मात्र होइन, त्यस क्षेत्रमा बसोबास गर्ने नागरिकको भविष्य र राष्ट्रिय अस्तित्वसँग जोडिएको विषय हो।

त्यसैले सीमासम्बन्धी विषय उठ्दा नेपाली समाज संवेदनशील हुनु स्वाभाविक हो। जनतामा आफ्नो भूमि र राष्ट्रप्रतिको भावनात्मक सम्बन्ध अत्यन्त बलियो हुन्छ।

अन्ततः नेपाल-भारत सीमा समस्या समाधानको उपाय के हो ?

समाधानको आधार संवाद नै हो। नेपाल, भारत र आवश्यक परे सम्बन्धित पक्षहरूबीच प्राविधिक, कूटनीतिक र राजनीतिक तहमा निरन्तर संवाद हुनुपर्छ।

वार्ता, तथ्य, प्रमाण र आपसी विश्वासका आधारमा समाधान खोज्नुपर्छ। अन्तिम लक्ष्य दुवै देशका लागि स्वीकार्य ‘विन–विन’ समाधान हुनुपर्छ। संवादको विकल्प संवाद नै हो।

कालिमाटी-कुलेश्वर करिडोर विस्तारसँगै भीममुक्तेश्वर क्षेत्रको आवतजावत सहज (तस्बिरहरु)

काठमाडौं। काठमाडौं महानगरपालिका–१३ अन्तर्गतको भीममुक्तेश्वर क्षेत्र नजिक विष्णुमती नदीको दायाँ किनारमा रहेको करिडोर सडक अहिले पूर्ण रूपमा पक्की बनाइएको छ। यसअघि टेकुतर्फको खण्ड मात्र कालोपत्रे रहेको उक्त करिडोर अहिले कालिमाटी पुलबाट कुलेश्वर हुँदै बल्खुसम्म विस्तार गरी पिच गरिएको हो।

कालिमाटी पुलको दायाँपट्टि रहेका अनाधिकृत घरटहरा हटाइएपछि खाली भएको क्षेत्रमा सडक निर्माण सम्पन्न गरिएको हो। केही समय अघिसम्म अव्यवस्थित बस्तीले ढाकिएको यो क्षेत्र अहिले खुला तथा व्यवस्थित देखिएको छ।

सरकारले वर्षायाममा डुबानको उच्च जोखिम रहेको भन्दै नदी किनारका बस्ती खाली गराई संरचनाहरू हटाएको थियो। त्यसपछि करिडोर विस्तारको काम अगाडि बढाइएको हो।

नवनिर्मित सडक सञ्चालनमा आएपछि कालिमाटी चोकको सवारी चाप छल्दै चालकहरूले सिधै करिडोरमार्फत कुलेश्वर र बल्खुसम्म पुग्न सक्ने भएका छन्। यसले काठमाडौं महानगरपालिका–१३ को भीममुक्तेश्वर क्षेत्रका स्थानीय बासिन्दालाई समेत सहज आवतजावतको सुविधा प्रदान गरेको छ।

 

राप्रपाबाट उछिटिएका धवल शम्शेरको नयाँ पार्टी खोल्ने घोषणा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता धवल शम्शेर राणाले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्।

काठमाडौंमा आयोजित एक भेलालाई सम्बोधन गर्दै उनले वर्तमान अवस्थामा राप्रपाबाट आफूहरूले बोकेको राजनीतिक विचार र उद्देश्य पूरा गर्न नसकिने निष्कर्षमा पुगेपछि नयाँ यात्राको निर्णय गर्नुपरेको बताएका हुन्।

राणाले पाँच वर्षअघि राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउन आफूहरूले सक्रिय भूमिका खेलेको स्मरण गर्दै अहिले भने त्यही पार्टी छाड्नुपरेको अवस्था दुःखद भएको बताए।

उनले भने, ‘पाँच वर्षअघि हामीले राजेन्द्र लिङ्देनलाई अंगालो मारेर अध्यक्ष बनाएका थियौँ। तर आज त्यही घर छाड्नुपर्ने अवस्था आएको छ। यो खुसीको होइन, दुःखको दिन हो। तर जब आफूले विश्वास गरेको मूल्य र मान्यतालाई त्यही घरभित्रबाट स्थापित गर्न नसकिने अवस्था आउँछ, तब हिम्मत गरेर अर्को घर बनाउनैपर्छ।’

धवल शम्शेरले राप्रपा अहिले वैचारिक र संगठनात्मक रूपमा कमजोर बन्दै गएको आरोप पनि लगाए। उनका अनुसार पार्टीभित्र सुधारको प्रयास गरिए पनि त्यसलाई अगाडि बढ्न नदिइएको र आफूहरूले उठाएका एजेन्डाले उचित स्थान नपाएको गुनासो छ।

‘मक्किसकेको र चर्किसकेको घरमा बसिरहनुभन्दा नयाँ घर निर्माण गर्नु नै उचित ठानेका छौँ,’ उनले भने, ‘पछिल्ला चार वर्ष मेरो राजनीतिक जीवनकै सबैभन्दा पीडादायी समय बने। मैले पार्टीलाई सही दिशा दिन, आन्दोलनलाई बलियो बनाउन र राप्रपालाई देशकै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्न प्रयास गरेँ, तर मेरा ती प्रयासहरूलाई अघि बढ्न दिइएन।’

उनले नयाँ दल गठनको तयारी सुरु भइसकेको संकेत दिँदै आफूहरूसँग समान सोच र उद्देश्य भएका व्यक्तिहरूलाई एकत्रित गर्ने काम अगाडि बढाइएको बताए। यद्यपि नयाँ पार्टीको नाम, संरचना र आगामी कार्ययोजनाबारे भने विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।

यसैबीच, धवल शम्शेर राणासहित १८६ जनाले सामूहिक रूपमा राप्रपा परित्याग गरेको घोषणा गरेका छन्।

खुम्बुको हिउँमा घिस्रिँदै मृत्यु जितेर फर्किएका दावा [फोटो-फिचर]

काठमाडौं। सगरमाथाको खतरनाक खुम्बु आइसफॉल क्षेत्रमा सात दिनसम्म हराएका ओखलढुंगाका ५७ वर्षीय दावा शेर्पा अन्ततः जीवितै फेला परेका छन्।

हिउँको अन्धकार,अक्सिजनको कमी र कठोर चिसोबीच उनले गरेको संघर्षलाई उद्धारकर्ताहरूले ‘अविश्वसनीय जीवित यात्रा’ भनेर वर्णन गरेका छन्।

चैत १३ गते काठमाडौंको रामहिटीबाट ‘हिमालयन ट्राभल्स एडभेन्चर’ कम्पनीमार्फत उनी सगरमाथा क्षेत्रतर्फ गएका थिए। कुकको रूपमा काम गर्ने दावा शेर्पा हिमालतर्फ उक्लिएका थिए।

परिवारका अनुसार उनी क्याम्प १ र क्याम्प २ क्षेत्रमा देखिएका थिए। तर क्याम्प ४ तर्फ जाने क्रममा उनी अचानक सम्पर्कविहीन भए।

दावाकी श्रीमती डमु शेर्पाका अनुसार कम्पनीले सुरुका दिनहरूमा स्पष्ट जानकारी दिन सकेन। कहिले क्याम्प ३, कहिले क्याम्प ४ वरिपरि देखिएको भनियो, तर वास्तविक अवस्था परिवारसम्म स्पष्ट रूपमा पुगेन। तीन दिनभन्दा बढी समयसम्म बेपत्ताको औपचारिक जानकारी नै नदिएको परिवारको आरोप छ।

यसैबीच,हिमालको कठोर भू–भागमा दावाले आफ्नो जीवनका कठिन घडीहरू सामना गरे। घिस्रिँदै उनी क्याम्प ३ सम्म पुगेका थिए, जहाँ उनले केही खानेकुरा भेट्टाएर खाए। त्यसपछि तल झर्ने क्रममा उनी एक खोँचभित्र रातभर आश्रय लिएर बसे।

भोलिपल्ट बिहान खुम्बु आइसफॉल क्षेत्रमा हिमाल सफा गर्ने कार्यमा खटिएको ६ जनाको टोलीले उनलाई फेला पारेको हो। सगरमाथा आधार शिविर नजिकैको क्याम्पोन पोइन्ट क्षेत्रमा उनी हिउँमा घिस्रिरहेको अवस्थामा देखिएका थिए। टोलीले तत्काल उनलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको थियो।

उद्धारपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याई ह्याम्स अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकका अनुसार उनको अवस्था अहिले स्थिर छ तर हात र खुट्टामा गम्भीर फ्रस्टबाइट देखिएको छ। संवेदनशीलता फर्काउन तातो पानीसहितको विशेष उपचार जारी छ।

यसैबीच, सगरमाथा आरोहणका क्रममा हराएको घटनाबारे पर्यटन विभागले छानबिन गर्ने तयारी गरेको छ।

घटनाले हिमाली क्षेत्रमा काम गर्ने श्रमिकहरूको सुरक्षा र व्यवस्थापनबारे फेरि प्रश्न उठाएको छ।

तस्वीरहरू:

आदिवासी जनजाति महिला महासंघको माइतीघरमा खबरदारी कार्यक्रम(तस्बिरहरु)

काठमाडौं । ‘हाम्रो भूमि, हाम्रो पहिचान: आदिवासी महिला एकताको अभियान’ नाराका साथ राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले राजधानीमा खबरदारी कार्यक्रम गरेको छ।

महासंघले माइतीघर मण्डलामा ध्यानाकर्षण तथा खबरदारी कार्यक्रम आयोजना गर्दै आदिवासी जनजाति महिलाको अधिकार, भूमि तथा पहिचानसँग सम्बन्धित मुद्दामा सरकारको ध्यानाकर्षण गराएको हो।

कार्यक्रममा सहभागीहरूले आदिवासी समुदायका परम्परागत भूमि अधिकारको संरक्षण, महिलाको समान सहभागिता, तथा सांस्कृतिक पहिचानको सम्मान सुनिश्चित गर्न माग गरेका थिए।

महासंघले राज्यले आदिवासी जनजाति महिलाका मुद्दालाई नीति तथा व्यवहार दुवै तहमा सम्बोधन गर्न ढिलाइ गरिरहेको भन्दै तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।