`

विरूपाक्ष : जमिनबाट बाहिर निस्के किन हुन्छ कलियुग अन्त्य ?

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ मन्दिरको वाग्मती नदीपट्टि विरूपाक्ष अर्थात् कलिको मन्दिर तथा मूर्ति छ । मूर्ति पूरै तिघ्रा छोपिने गरी भुइँमा गाडिएको छ । त्यस मूर्तिका खुट्टा छन् कि छैनन् भन्ने भेउ पाइँदैन । मूर्तिको नाक नेप्टो छ, ओठ मोटो छ, टाउको बाटुलो छ, त्यसैले इतिहासकारहरूले त्यसलाई किरात कालको मूर्ति ठानेका छन् ।

उक्त मूर्तिसँग जोडिएका रहस्यमयी विरूपाक्ष को हुन् ? किन त्यहाँ आधा गाडिएको अवस्थामा उनको प्रतिमा बनाइएको छ ? अथवा विरूपाक्ष के हुन् भन्ने विषयको सधैं चर्चा परिचर्चा प्रायः भैरहन्छ ।

विरूपाक्षसँग सम्बन्धित किम्वदन्तीले अधिकांशको आकर्षित गरेको छ । उक्त मूर्तिको उत्पत्ति र त्यससँग जोडिएका धार्मिक विश्वासबारे विभिन्न कथनहरू प्रचलित छन्।

काठमाडौँ उपत्यकामा प्रचलित लोककथाअनुसार ‘विरूपाक्ष’ एक किराँती बालकको नाम हो। गरिबीका कारण उनका बाबु रोजगारीका लागि परदेश गएका थिए। तर लामो समयसम्म पनि घर फर्किएनन्। सात वर्षको उमेर पुग्दा पनि बाबु नफर्किएपछि बालकले आमासँग बिदा मागेर बाबुको खोजीमा निस्कने निर्णय गरे।

उनले धेरै ठाउँमा खोजी गरे, तर कुनै पत्तो लागेन। समयसँगै उनी सत्र वर्षका जवान भए। एक दिन जंगलमा हिँड्दा रात परेपछि उनले नजिकैको ओडारमा बास बस्ने निर्णय गरे।

उता, लामो समयदेखि हराएका श्रीमान् र छोराको खोजीमा उनकी आमा पनि यात्रामा निस्किएकी थिइन्। संयोगवश उनी पनि त्यही ओडारमा आइपुगिन्। अँध्यारो कारणले आमा-छोराले एकअर्कालाई चिन्न सकेनन् र अज्ञानतामा उनीहरूबीच सहवास भयो।

बिहान भएपछि परिचय खुल्दा उनीहरू आफ्नै आमा-छोरा भएको थाहा पाए। यो घटनाले बालकलाई गहिरो पश्चात्तापमा पुर्‍यायो।

पापबाट मुक्त हुने उपाय खोज्दै उनी पशुपतिनाथ मन्दिर पुगेर भगवान् शिवसँग प्रायश्चितको मार्ग मागे। कथाअनुसार शिवले उनलाई १२ धार्नी तामा पगालेर खाने सल्लाह दिए।

उनले तामा तताउन थाले, तर तामा पग्लिएन। बरु त्यसको तातो र धुवाँले उनको अनुहार जलेर विकृत भयो, जसका कारण उनलाई ‘विरूपाक्ष’ भनियो।

यसपछि उनी शिवप्रति आक्रोशित भए र पशुपति क्षेत्रमा भौँतारिँदै शिवलिङ्गहरूमा प्रहार गर्न थाले। पछि उनी गौतम बुद्ध को शरणमा पुगे। बुद्धले उनलाई जपमाला दिएर ‘यो माला नखुइलिउन्जेल जप गर’ भने।

लामो साधनापछि उनले एक बालकलाई फलाम घोटेर सियो बनाउँदै गरेको देखे, जसबाट उनी प्रेरित भए। अन्ततः जपमाला खुइलियो र उनी पापबाट मुक्त भए भन्ने विश्वास छ।

तर, शिवको अपमान गरेको कारण स्थानीय भक्तहरूले उनलाई वाग्मती किनारमा जमिनभित्र गाडिदिए भन्ने जनविश्वास पनि छ। आज त्यहाँ देखिने आधा जमिनभित्र गाडिएको मूर्तिलाई धेरैले कलियुगसँग जोडेर हेर्छन्।

यस्तै विभिन्न पुराणहरूमा ‘विरूपाक्ष’ नामका आठ प्रकारका पात्रहरू पाइन्छन्। यीमध्ये भगवान् शिवका एघार रुद्र रूपमध्ये एक रुद्रको नाम पनि विरूपाक्ष रहेको उल्लेख छ। तर अन्य धेरै प्रसङ्गमा ‘विरूपाक्ष’ नाम दैत्य, दानव वा राक्षस वर्गका पात्रहरूमा प्रयोग भएको देखिन्छ।

काठमाडौँ उपत्यकामा प्रचलित लोककथा भने कुनै पनि मूल पुराणमा मेल खाएको पाइँदैन।

विभिन्न पुराण तथा महाकाव्यहरूमा विरूपाक्ष नाम यसरी उल्लेख गरिएको छ:

(१) पौराणिक विश्वासअनुसार पृथ्वीलाई आठ दिशाबाट आठ दिग्गज (हात्ती) ले धारण गरेको मानिन्छ। तीमध्ये एक हात्तीको नाम पनि विरूपाक्ष रहेको उल्लेख छ।

(२) महाभारत, आदि पर्व (अध्याय ६७) अनुसार कश्यप प्रजापति र दनुकी सन्तानमध्ये एक दानवको नाम विरूपाक्ष थियो।

(३) महाभारत, सभा पर्व (दाक्षिणात्य पाठ, अध्याय ३८) अनुसार नरकासुरका असुर सेवकमध्ये एक विरूपाक्ष नामक पात्र थियो, जसलाई लोहितगङ्गा (ब्रह्मपुत्र) किनारमा वध गरिएको उल्लेख छ।

(४) महाभारत, द्रोण पर्व (अध्याय १७५) अनुसार घटोत्कचका राक्षस मित्रमध्ये एकको नाम पनि विरूपाक्ष रहेको पाइन्छ।

(५) महाभारत, शान्ति पर्व (अध्याय १७०) मा एक दैत्यको नाम विरूपाक्ष उल्लेख गरिएको छ।

(६) वाल्मीकि रामायण (युद्ध काण्ड) अनुसार रावण पक्षमा रहेर राम-लक्ष्मणसँग युद्ध गर्ने एक राक्षसको नाम पनि विरूपाक्ष थियो।

(७) अग्नि पुराण (अध्याय १०) अनुसार कुम्भकर्णको वधपछि रावणका प्रमुख सेनापतिहरूमध्ये एक विरूपाक्ष नामक पात्र थियो।

यसरी विभिन्न ग्रन्थहरूमा ‘विरूपाक्ष’ नाम फरक-फरक पात्रहरूमा प्रयोग भएको देखिन्छ, जसमा देव, दैत्य, राक्षस तथा प्रतीकात्मक पात्रहरू सबै समावेश छन्।

भारतका विभिन्न स्थानहरू, कर्नाटक (हाम्पी), ओडिसा र मध्यप्रदेशमा रहेका विरूपाक्ष मन्दिरहरूमा भने विरूपाक्षलाई दैत्य वा कलियुगको पात्र होइन, भगवान् शिवकै स्वरूपका रूपमा पूजा गरिन्छ। हाम्पीस्थित विरूपाक्ष मन्दिरमा त उनको तान्त्रिक र वैष्णव-शैव परम्परासँग जोडिएको धार्मिक स्वरूप अझ स्पष्ट देखिन्छ।

डा. जगमान गुरुङले नेपाल र दक्षिण भारतका पुराना शिवमूर्तिहरू, विशेष गरी आन्ध्र प्रदेशको गुडिमल्लमस्थित परशुरामेश्वर शिवलिङ्गसँग शैलीगत समानता देखाएका छन्। यद्यपि नेपालमा रहेको विरूपाक्ष मूर्तिलाई कतै पनि सो नामले मात्र सीमित रूपमा बुझ्न नहुने तर्क पनि प्रस्तुत गरिएको छ। यसलाई किरातेश्वर शिवपरम्परासँग जोडेर व्याख्या गर्ने दृष्टिकोण पनि पाइन्छ।

यद्यपि नेपाली लोकविश्वास अनुसार, विरूपाक्ष अझै जमिनबाट बाहिर निस्कने प्रयासमा छन्। जब उनी पूर्ण रूपमा बाहिर आउँछन्, तब कलियुगको अन्त्य हुने मानिन्छ।

यस प्रकार, विरूपाक्ष मूर्तिसँग जोडिएका कथाहरू ऐतिहासिक प्रमाणभन्दा बढी धार्मिक आस्था र किम्वदन्तीमा आधारित रहेको पाइन्छ।

त्रिभुवन विश्वविधालयका पदाधिकारीले दिए राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति सहित शीर्ष तीन पदाधिकारीले सामूहिक रूपमा राजीनामा दिएका छन्। रास्वपा नेतृत्वको सरकारले विश्वविद्यालयमा नयाँ व्यवस्थापन र नीतिगत पुनर्संरचना गर्न सहज होस् भन्ने उद्देश्यले उपकुलपति प्रा. डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा. खड्ग केसी र रजिष्टर केदारप्रसाद रिजालले एकसाथ पद त्यागेका हुन्।

उनीहरूको सामूहिक राजीनामा उच्च शिक्षाको क्षेत्रमा देखिएका चुनौती, सुधारको आवश्यकता र आगामी दिनमा सरकारका शिक्षासम्बन्धी प्राथमिकताहरूलाई खुला मार्ग प्रशस्त गर्ने कदमको रूपमा हेरिएको छ। रास्वपाको नेतृत्वमा बनेको सरकारले विश्वविद्यालय प्रशासनलाई प्रभावकारी, पारदर्शी र गतिशील बनाउने प्रतिबद्धता सार्वजनिक गर्दै आएको छ। यही कारण त्रिविका नेतृत्व तहका व्यक्तिहरूले नयाँ टोलीलाई सहज वातावरण प्रदान गरिने बताउँदै पद छाडेका छन्।

उपकुलपति अर्यालले राजीनामा पत्रमा विगत केही वर्षयता विश्वविद्यालयमा देखिएका संरचनागत समस्याहरू समाधान गर्न नेतृत्वको परिवर्तन अपरिहार्य भएको उल्लेख गरेका छन्। शिक्षाध्यक्ष केसीले पनि विश्वविद्यालयमा गुणस्तरीय शिक्षा, अनुसन्धान र व्यवस्थापन सुधारका लागि नयाँ सोच र दृष्टिकोण आवश्यक भएको बताएका छन्। रजिष्टर रिजालले भने विश्वविद्यालय प्रशासनलाई नयाँ ऊर्जासहित अघि बढाउन आफूहरू पछि हट्न तयार भएको बताएका छन्।

च्याम्पियन्स लिगमा आर्सनल र एट्लेटिकोको बराबरी

काठमाडौं। युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इङ्लिस क्लब आर्सनल र स्पेनिस टोली एट्लेटिको म्याड्रिडले बराबरी खेलेका छन्।

एट्लेटिकोको घरेलु मैदानमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेल १–१ गोलको बराबरीमा सकिएको हो। दुवै टोलीले पेनाल्टीमार्फत एक-एक गोल गरेका थिए।

खेलको ४४औँ मिनेटमा आर्सनलले अग्रता लिएको थियो। भिक्टर ग्योकेरेसले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो।

तर दोस्रो हाफमा ५६औँ मिनेटमा जुलियन अल्भारेजले पेनाल्टीमै गोल गर्दै एट्लेटिको म्याड्रिडलाई खेलमा बराबरीमा फर्काउनुभयो।

त्यसपछि दुवै टोलीले गोल गर्ने प्रयास गरे पनि थप गोल हुन सकेन। अब सेमिफाइनलको दोस्रो लेग आर्सनलको घरेलु मैदानमा हुनेछ।

ज्याकारान्डा फूलले ढकमक्क बन्यो काठमाडौं उपत्यका(तस्वीरहरु)

काठमाडौँ। काठमाडौँ उपत्यका यतिबेला वैजनी रंगले सजिएको छ। विभिन्न स्थानमा फुलेका ज्याकारान्डा फूलहरूले उपत्यकाको सौन्दर्य झन् बढाएका छन्।

शहरका मुख्य सडक किनारका ठूला रुखहरूमा ढपक्क फुलेका ज्याकारान्डाले काठमाडौँलाई आकर्षक बनाएका छन्। यी फूलहरूको वैजनी आभाले वसन्त ऋतुलाई अझै रंगीन र रमाइलो बनाएको छ।

दरबारमार्ग, रत्नपार्क, सुन्धारा, सिंहदरबार, सातदोबाटो र गौशालालगायत क्षेत्रमा ज्याकारान्डा फुलेर शहरको दृश्य नै फेरिएको छ।

ज्याकारान्डा नेपालमा रैथाने फूल भने होइन। मध्य तथा दक्षिण अमेरिकाबाट उत्पत्ति भएको यो फूल भारत हुँदै नेपाल भित्रिएको मानिन्छ। विशेषगरी भारतमा काम गर्ने नेपाली (लाहुरे) हरूमार्फत यो फूल नेपाल ल्याइएको विश्वास गरिन्छ।

‘दृश्यम ३’ को टिजर सार्वजनिक

काठमाडौं। मलयालम सुपरस्टार मोहनलाल अभिनीत बहुप्रतीक्षित क्राइम थ्रिलर फिल्म ‘दृश्यम ३’ को टिजर सार्वजनिक भएको छ।

सार्वजनिक टिजरले ‘दृश्यम’ र ‘दृश्यम २’ का महत्वपूर्ण दृश्यहरूलाई पुनः सम्झाउँदै कथालाई अगाडि बढाएको छ। त्यसपछि कथा मुख्य पात्र जर्जकुट्टीको मनोवैज्ञानिक अवस्थातर्फ केन्द्रित हुन्छ, जहाँ उनी चर्चभित्र आफ्ना डर र भावनाहरू व्यक्त गरिरहेको देखिन्छ।

परिवारलाई जोगाउने आफ्नो अडान दोहोर्‍याउँदै जर्जकुट्टीले आफू सधैं कसैले नियालिरहेको महसुस गर्ने बताउँछन्, जसले विगत अझै पूर्ण रूपमा समाप्त नभएको संकेत गर्छ।

टिजरले उनको जीवनमा फेरि एकपटक डर, रहस्य र नयाँ मोड आउने संकेत गर्दै दर्शकमाझ उत्साह थपेको छ। साथै, टिजरमा पुराना पात्रहरूको झलक पनि देख्न सकिन्छ।

‘दृश्यम ३’ भारतीय सिनेमा जगतको चर्चित क्राइम थ्रिलर फ्रेन्चाइजीको नयाँ अध्याय हो। फिल्मलाई जीथु जोसेफले निर्देशन तथा लेखन गरेका हुन् भने एन्टोनी पेरुम्बावूरले निर्माण गरेका हुन्।

फिल्ममा मोहनलालसँगै मीना, सिद्दिकी, आशा शरथ, मुरली गोपी, अन्सिबा हसन, एस्थर अनिललगायत कलाकारहरूको अभिनय रहेको छ।

‘दृश्यम ३’ सन् २०२६ मे २१ देखि विश्वव्यापी प्रदर्शनमा आउने तयारीमा छ।

सरकारसँग तीन विपक्षी दलले राखे यस्ता नौबुँदे माग

काठमाडौं । विपक्षी तीन दलले सरकारसँग नौबुँदे माग अघि सारेका छन्। बिहीबार (वैशाख १८) सिंहदरबारमा बसेको नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को बैठकले सुकुम्वासीलाई सुरक्षित बसोबासको व्यवस्था गरी समस्या समाधान गर्न माग गरेको हो।

बैठकपछि एमाले राष्ट्रियसभा दलका नेता प्रेम दंगाल, कांग्रेस प्रमुख सचेतक वासना थापा र नेकपाका प्रमुख सचेतक युवराज दुलालले संयुक्त रूपमा हस्ताक्षर गरेको विज्ञप्ति सार्वजनिक गरिएको छ।

विज्ञप्तिमा आगामी बजेट तथा नीति तथा कार्यक्रम निर्माणका क्रममा विपक्षी दलका सुझावलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाइएको छ। सरकारलाई नीति तथा कार्यक्रममा सबै पक्षका धारणा समेट्न आग्रह पनि गरिएको छ।

त्यसैगरी, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधानका लागि स्पष्ट नीति ल्याउनुपर्ने र सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने माग पनि प्रमुख रूपमा अघि सारिएको छ।

विपक्षी दलहरूले सरकारलाई समावेशी नीति अपनाउँदै जनसरोकारका विषयमा गम्भीर बन्न आग्रह गरेका छन्।

चट्याङका कारण ३९ भेडाबाख्रा मरे

बाजुरा। बाजुरामा चट्याङ र पहिरोका कारण भेडाबाख्रामा ठूलो क्षति पुगेको छ। बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा चट्याङ लागेर मरेका छन्।

जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका-१ जोरुको रानीसैन वनमा चराउन लगिएका भेडाबाख्रा पानी परेपछि ओत लागेर ओडारमा बसेका बेला चट्याङ लागेर मरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिनुभयो।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी चौकी स्वामीकार्तिकबाट प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ।

यसैबीच मंगलबार पनि जिल्लाका विभिन्न स्थानमा प्राकृतिक विपत्तिका कारण पशुचौपायामा क्षति पुगेको छ। जगन्नाथ गाउँपालिका-२ माथिल्लो हुनीमा पहिरो जाँदा १३ बाख्रा मरेका छन् भने ३८ भेडाबाख्रा बेपत्ता भएका छन्।

त्यसैगरी त्रिवेणी नगरपालिका-९ पैमाको खोया लेकमा स्थानीय कूलबहादुर साउँदका ३ बाख्रा गोठमै चट्याङ लागेर मरेका छन्।

लगातारको वर्षा, पहिरो र चट्याङका घटनाले जिल्लाका ग्रामीण क्षेत्रमा पशुधनमा ठूलो क्षति पुर्‍याएको स्थानीयले बताएका छन्।

युएईले गर्यो ५९ वर्षपछि ओपेक छोड्ने घोषणा, विश्व तेल बजार संकटमा

एजेन्सी। संयुक्त अरब इमिरेट्स (युएई) ले ५९ वर्षको सदस्यता समाप्त गर्दै १ मे २०२६ देखि ओपेक र ओपेक प्लसबाट आधिकारिक रूपमा अलग हुने घोषणा गरेको छ।

युएईले पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक) र यसको विस्तारित गठबन्धन ओपेक प्लसबाट आफ्नो सदस्यता समाप्त गर्ने निर्णय गरेको हो। यो निर्णय सन् २०२६ मे १ देखि लागू हुनेछ।

ओपेक सन् १९६० मा स्थापना भएको अन्तरसरकारी संगठन हो, जसले सदस्य राष्ट्रहरूको तेल उत्पादन नीतिलाई समन्वय गर्छ। हाल यसमा १२ देश रहेका छन्। ओपेकले विश्वको करिब ३० प्रतिशत कच्चा तेल उत्पादन नियन्त्रण गर्छ भने रूसलगायत देशहरू सहभागी ओपेक प्लसले झन्डै ४१ प्रतिशत उत्पादन ओगट्छ।

युएईका ऊर्जा मन्त्री सुहाइल मोहम्मद अल-मज्रुईका अनुसार यो निर्णय देशको वर्तमान तथा भविष्यको ऊर्जा नीतिको गहिरो समीक्षा पछि गरिएको हो।

राज्य समाचार एजेन्सी वामका अनुसार यो कदमले युएईको दीर्घकालीन रणनीतिक र आर्थिक दृष्टिकोण तथा बदलिँदो ऊर्जा प्रोफाइललाई प्रतिबिम्बित गर्छ।

विश्लेषकहरूका अनुसार ओपेकभित्र उत्पादन कोटा निर्धारणमा लामो समयदेखि विवाद रहँदै आएको थियो। युएईको दैनिक उत्पादन क्षमता करिब ४.८ मिलियन ब्यारेल भए पनि ओपेक सम्झौताअनुसार ३.२ मिलियन ब्यारेल मात्र उत्पादन गर्न अनुमति थियो। यसले आफ्नो क्षमता अनुसार उत्पादन बढाउन युएईलाई बाधा पुगेको मानिन्छ।

त्यसैगरी साउदी अरबसँग पछिल्ला वर्षहरूमा देखिएको नीतिगत मतभेद र क्षेत्रीय तनाव पनि यस निर्णयसँग जोडिएको बताइन्छ।

मध्यपूर्वमा अमेरिका-इजरायल र इरानबीचको तनाव चरम अवस्थामा पुगेको सन्दर्भमा होर्मुज जलमार्गमा अवरोधले पनि तेल आपूर्तिमा असर पारेको छ। यो मार्गबाट विश्वको करिब एक-पाँचौं कच्चा तेल र ग्यास ढुवानी हुने गर्दछ।

इरानले विदेशी जहाजको आवागमनमा अवरोध गरेपछि खाडी क्षेत्रका देशहरूको तेल निर्यातमा असर परेको बताइएको छ।

विश्लेषकहरूका अनुसार तत्काल ठूलो मूल्य परिवर्तन नदेखिए पनि दीर्घकालीन रूपमा तेल बजारमा अस्थिरता बढ्न सक्छ। ओपेकको समन्वय क्षमता कमजोर भएमा उत्पादन र मूल्यमा अनिश्चितता बढ्ने सम्भावना रहेको छ।

नेपालजस्ता पूर्ण रूपमा आयातमा निर्भर देशका लागि यो घटनाक्रम महत्वपूर्ण मानिन्छ। अन्तर्राष्ट्रिय बजारमा तेल मूल्य बढेमा इन्धन आयात खर्च बढ्ने र त्यसको असर ढुवानी, कृषि तथा उपभोक्ता वस्तुको मूल्यमा पर्नेछ।

विशेषज्ञहरूका अनुसार युएईको यो निर्णयपछि अन्य सदस्य देशहरू पनि ओपेक छोड्ने बहस सुरु हुन सक्छ। यद्यपि होर्मुज जलमार्गको अवस्था सुधारिए र क्षेत्रीय तनाव घटेमा युएईले आफ्नो पूर्ण उत्पादन क्षमता उपयोग गर्न सक्ने र बजारमा आपूर्तिको अवस्था स्थिर हुन सक्ने अनुमान गरिएको छ।

बुद्ध जयन्ती हीरक समारोह सहभागी हुन राष्ट्रपति पौडेल पुगे नागबाहाल (तस्वीरहरु)

काठमाडौं। बुद्ध जयन्ती हीरक समारोह सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल पुगे ललितपुर नागबाहाल

ललितपुर नागबहालमा २५७०औँ बुद्ध जयन्तीको उपलक्ष्यमा आयोजना गरिएको बुद्ध जयन्ती हीरक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका छन्।

१८ जना पक्राउ

काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १८ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको अर्जुनधारा नगरपालिका-११ चियाबगानबाट खैरो हेरोइनसहित ५ जना पक्राउ परेका छन्। त्यस्तै फिदिम नगरपालिका-१ शनि क्षेत्रबाट २ जना, सुनसरीको कोशी गाउँपालिका-१ लौकहीबाट ३ जना, धरान उपमहानगरपालिका-११ बाट १ जना र मध्यपुरथिमि नगरपालिका-१ मनोहराबाट २ जना पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये केही व्यक्तिबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि तथा लागुऔषध तौल गर्न प्रयोग हुने डिजिटल तराजु समेत बरामद गरिएको छ।

यसैगरी कोहलपुर नगरपालिका-१० चडिण्डा टोलबाट १ जना, पोखरा महानगरपालिका-२५ याम्दीबाट १ जना र सिम्रौगढ नगरपालिका-३ भट्टीवैरियाबाट २ जना तथा नेपालगन्ज उपमहानगरपालिका-१३ लालापुरबाट १ जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई बुधबार विभिन्न स्थानबाट पक्राउ गरिएको हो। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

नेपाल टेलिकमले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट दूरसञ्चार सेवा विस्तार गर्दै

काठमाडौं। नेपाल टेलिकमले देशका विभिन्न विकट तथा दुर्गम स्थानहरूमा स्याटेलाइट प्रविधिमा आधारित दूरसञ्चार सेवाको विस्तारलाई तीव्रता दिएको छ। भौगोलिक कठिनाइका कारण अन्य प्रविधि पुग्न नसकेका क्षेत्रहरूमा कम्पनीले भीस्याट र जीएसएम प्रविधिमार्फत मोबाइल, टेलिफोन तथा डाटा सेवा उपलब्ध गराइरहेको छ।

चालु आर्थिक वर्षमा मात्रै टेलिकमले डोल्पाको कुगाउँ र निजाल, दोलखाको ना–गाउँ तथा रसुवाको चन्दनबारीमा नयाँ जीएसएम मोबाइल सेवा विस्तार गरेको छ। यससँगै देशभर हाल यस्ता प्रविधिमार्फत करिब ३८ वटा दुर्गम स्थानमा सेवा सञ्चालनमा रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सबैभन्दा बढी १४ वटा साइट डोल्पा जिल्लामा रहेका छन्। त्यस्तै हुम्ला र मुगुका ५–५ स्थानमा सेवा सञ्चालन भइरहेको छ। मनाङ, दोलखा, ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, दार्चुला, बाजुरा र जुम्ला जस्ता अति विकट जिल्लाका विभिन्न स्थानमा पनि सञ्चार सेवा विस्तार गरिएको छ।

कतिपय स्थानमा न्यून जनसंख्या र कठिन भौगोलिक अवस्थाका कारण उपकरण ढुवानीका लागि हेलिकप्टरको समेत प्रयोग गरिएको टेलिकमले जनाएको छ।

व्यावसायिक दृष्टिले प्रत्यक्ष लाभ कम भए पनि ‘नेपाल टेलिकम राष्ट्रको सञ्चार’ भन्ने उद्देश्यलाई सार्थक बनाउन सेवा विस्तार गरिएको कम्पनीको भनाइ छ। आगामी दिनमा यी स्याटेलाइट साइटहरूलाई अझ आधुनिक प्रविधिमा स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ।

यसका साथै ब्याकबोन ट्रान्समिसन परियोजना अन्तर्गत अप्टिकल फाइबर नेटवर्क विस्तारको काम पनि तीव्र रूपमा अघि बढाइएको छ। पूर्व–पश्चिम तथा उत्तर–दक्षिण करिडोरका साथै ग्रामीण क्षेत्रमा उच्च क्षमताको डाटा ट्रान्समिसन सुनिश्चित गर्न नेपाली सेना र सडक विभागसँगको समन्वयमा ओएफसी विस्तार तथा सुदृढीकरण भइरहेको छ।

नेटवर्कलाई भरपर्दो बनाउन पुराना स्विच उपकरणहरूलाई आधुनिक राउटरमा स्तरोन्नति गर्ने र वैकल्पिक लिङ्क (रिडन्डन्सी) स्थापना गर्ने कार्यलाई पनि प्राथमिकतामा राखिएको छ। यसले कुनै एक लिङ्कमा समस्या आए पनि सेवा निरन्तर रहने सुनिश्चित गर्ने टेलिकमको भनाइ छ।

विकट क्षेत्रमा सेवाको निरन्तरता सुनिश्चित गर्न मर्मतसम्भार तथा पूर्वाधार संरक्षणका उपायहरू पनि अपनाइएको टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरले जानकारी दिएका छन्।

अस्पतालभित्र जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी लगायतका कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको छ।

मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिले बिरामीको गोपनीयता हनन हुनुका साथै स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पर्ने भएकाले यस्तो कार्य नगर्न सबैलाई आग्रह गरेको हो।

पछिल्लो समय केही व्यक्तिहरूले अनुमति बिना अस्पताल परिसरमा प्रवेश गरी बिरामी तथा स्वास्थ्यकर्मीको फोटो(भिडियो खिच्ने, अनावश्यक भिडभाड गर्ने र उपचार प्रक्रियामा अवरोध पुर्‍याउने गुनासो बढेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यस्ता गतिविधिले बिरामीको गोपनीयता उल्लङ्घन हुने र स्वास्थ्य सेवा प्रवाहमा बाधा पुग्ने भएकाले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा अनुमति बिना भिडियो बनाउने, स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने वा दबाब दिने कार्य प्रचलित कानुन विपरीत हुने स्पष्ट गरिएको छ।

स्वास्थ्य मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्था परिसरभित्र सम्बन्धित निकायको स्वीकृति बिना फोटो-भिडियो नखिच्न र प्रकाशन-प्रसारण नगर्न सबैलाई अनुरोध गरेको छ।

यस्ता कार्य जारी रहेमा कानुनअनुसार कडा कारबाही हुने चेतावनी पनि मन्त्रालयले दिएको छ।

एक जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीका लागि स्लोभाकिया पठाउने भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

राम्रो देश, राम्रो काम र आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको आरोपमा ४५ वर्षीय हिमहरी अर्याललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले ३ लाख ७५ हजार रुपैयाँ ठगी गरेको आरोप छ।

पाल्पाको रैनादेवी गाउँपालिका–६ घर भएका अर्याललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका-११ बाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले ५ जनासँग रकम लिएर विदेश पठाउने भन्दै आश्वासन दिएका थिए। तर रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए।

उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।

रोजगार विभागमा ठगिधन्दा : कर्मचारी, प्रहरी र बिचौलियाको मिलेमतो

काठमाडौं। कीर्ते हस्ताक्षरसहितको उजुरीको आधारमा सर्वसाधरणलाई अनावश्यक दुःख दिइएको गुनासोपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका अधिकृतहरूमाथि छानबिन सुरु गरेको छ।

विभागका कर्मचारी, प्रहरी र केही बिचौलियाको मिलेमतोमा कीर्ते कार्य भएको भन्दै अख्तियारमा गुनासो पुगेपछि आयोग सक्रिय भएको हो।

सूत्रका अनुसार वास्तविक ठगी गर्नेहरूलाई जोगाउनका लागि उल्टै निर्दोषलाई फसाउने र पक्राउ पुर्जी देखाएर तर्साई रकम असुल्ने गतिविधि भएको आरोप छ। यस्ता गतिविधिमा विभागकै केही कर्मचारी संलग्न रहेको भन्दै अख्तियारले उनीहरूलाई बयानका लागि बोलाएको बताइएको छ।

अख्तियारले निरकुमार विश्वकर्मा र युवराज शर्मा लगायतका कर्मचारीलाई बयानका लागि बोलाएको स्रोतले जनाएको छ। विभागभित्र नक्कली हस्ताक्षर प्रयोग गरेर उजुरी दर्ता गराउने र त्यसकै आधारमा निर्दोष व्यक्तिबाट रकम असुल्ने प्रवृत्ति बढेको गुनासो पनि आएको छ।

यस्तो गतिविधिबारे सूचना आएपछि वैदेशिक रोजगार न्यायाधिकरणले समेत पक्राउ अनुमति दिने वा नदिने विषयमा थप अध्ययन गर्न आदेश दिँदै आएको जनाइएको छ।

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने वास्तविक व्यक्तिहरूलाई जोगाउन विभागकै केही कर्मचारी सक्रिय रहेको गुनासो अख्तियारमा पुगेपछि अनुसन्धान अघि बढाइएको हो।

अस्ट्रेलियामा बसेर नेपालका युवालाई ठगी गरेको आरोप लागेका अनिल दनैसँग सम्बन्धित विषयमा पनि गुनासो परेको उल्लेख छ। विभागले दनैलाई जोगाउने प्रयास गर्दै अन्य व्यक्तिलाई दोषी ठहर गर्न खोजेको आरोपपछि न्यायाधिकरणले समेत चासो देखाएको बताइएको छ।

अख्तियारले दनैलाई पक्राउ गरी अनुसन्धान गर्न निर्देशन दिएको भए पनि त्यसको कार्यान्वयन नभएको कारण विभागका केही कर्मचारी शंकाको घेरामा परेका छन्।

डुङ्गा दुर्घटना : १७ शव बरामद, सात जनाको उद्धार

एजेन्सी । लिबियाको पूर्वी तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा १७ जनाको शव बरामद गरिएको छ भने ७ जनालाई सकुशल उद्धार गरिएको लिबियन आपतकालीन सहायता संस्था रेड क्रिसेन्टले जनाएको छ।

संस्थाले जारी गरेको विज्ञप्तिअनुसार टोब्रुक सहरको नौसेना आधारबाट गस्तीमा खटिएको जहाजले खोज तथा उद्धार कार्य सुरु गरेको थियो।

दुर्घटनापछि डुङ्गामा रहेका व्यक्तिहरू करिब ८ दिनसम्म कठिन अवस्थामै समुद्रमा फसेको बताइएको छ।

उद्धार अभियानका क्रममा ८ घण्टाभन्दा बढी समयसम्म सञ्चालन गरिएको समन्वित अपरेसनमा नौसेना एकाइ र तट-रक्षकले संयुक्त रूपमा काम गरेका थिए। यस क्रममा केही व्यक्तिहरू गम्भीर घाइते अवस्थामा फेला परेका जनाइएको छ।

भौगोलिक अवस्थाका कारण लिबिया युरोपतर्फ जाने अनियमित आप्रवासीहरूको प्रमुख पारवहन केन्द्रका रूपमा रहेको छ।

विशेषगरी भूमध्यसागरसँगको नजिकता र मौसमी अनुकूलताका कारण मार्चदेखि सेप्टेम्बरसम्मको अवधिमा आप्रवासी आवतजावत बढ्ने गरेको बताइन्छ।

रविको निर्देशन अवज्ञा, प्रधानमन्त्री बालेनलाई रीमाको प्रश्न– जनताले न्याय कसरी पाउने सरकार ? (भिडियो)

काठमाडौं । बालेन सरकारसँग रास्वपाकै सांसद रीमा विश्वकर्मा आक्रोशित भएकी छन् । सिन्धुलीका युवक श्रीकृष्ण विकको प्रहरी हिरासतमै भएको मृत्यु प्रकरणमा पीडित पक्षको जाहेरी प्रहरी र सरकारी वकिल कार्यालयले लिन नमानेको भन्दै उनले बालेन सरकारलाई भनेकी छन्,– जनताले न्याय कसरी पाउँछन् सरकार ?

रास्वपा सभापति रवि लामिछानेले धेरै भाबुक नहुन बुधबार मात्रै आफ्ना सांसदहरूलाई निर्देशन दिएका थिए । भोलिपल्टै सांसद विश्वकर्माले श्रीकृष्ण विकको हिरासतमै भएको मृत्यु प्रकरणमा मुख खोलिन् र पीडित परिवारको न्यायको पक्षमा बोलिन् ।

रीमा ती सांसद हुन् जो यसअघि रास्वपाकै सांसदहरू खगेन्द्र सुनार, आशिष गजुरेललगायतसँगै जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्ना बस्न पुगेका थिए ।

धर्नापछि दबाबमा परेको बालेन सरकारले नेपाल प्रहरीका डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ, तर, मृतक श्रीकृष्णकी आमा बिन्दासहित पीडित परिवार काठमाडौंको माइतीघर आइपेगेका छन् र उनीहरू पनि दिनहुँ जसो धर्नामा छन् ।

यस्तोमा रीमाले आफ्ना सभापति रविले धेरै भाबुक नहुन दिएको निर्देशनविपरीत आफ्नै पार्टीका प्रधानमन्त्री बालेनलाई जाहेरी प्रहरीले नलिएछि कसरी न्याय पाउने भन्दै गम्भीर प्रश्न गरेकी हुन् ।

प्रहरी गृहमन्त्रालयअन्तर्गत पर्ने निकाय भएको र गृहमन्त्रालयको जिम्मेवारी अहिले प्रधानमन्त्री बालेनले नै लिएका छन् । आफ्नै सांसदहरूले मृतक श्रीकृष्ण विकको परिवारलाई न्यायका लागि दबाब बढाउँदा बालेन चुपचाप छन् ।

 

रविको मुद्दा फिर्ताविरुद्धको रिटको आज सुनुवाइ हुँदै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा संशोधन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आज (बिहीबार) पूर्ण इजलासमा हुने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशहरू अब्दुल अजिज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलासमा उक्त रिटको सुनुवाइका लागि पेसी तोकिएको हो।

यसअघि गत चैत १५ गते न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले उक्त मुद्दा पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो।

निवर्तमान महान्यायाधिवक्ता सविता भण्डारी बरालले रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्।

उक्त निर्णय बदर गर्न माग गर्दै युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

गोल्छा पक्राउप्रति नाडाको आपत्ति, व्यवसायी पक्रेर के गरेको सरकार ?

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले निजी क्षेत्रका प्रतिष्ठित उद्यमी तथा आफ्नो पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउप्रति आपत्ति जनाएको छ।

नाडाले विज्ञप्ति जारी गर्दै अनुसन्धानका नाममा व्यवसायीहरूलाई हठात् पक्राउ गर्ने कार्यले लगानीकर्ताको मनोबल कमजोर हुने ठहर गरेको छ।

संस्थाले शेखर गोल्छालाई नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्रको सम्मानित व्यक्तित्वका रूपमा चित्रण गर्दै उनको नेतृत्वले निजी क्षेत्रलाई नयाँ दिशा दिनुका साथै देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो गरिमामय इतिहास बोकेको र देशकै ठूलो औद्योगिक घरानाको नेतृत्व गरिरहनु भएको व्यक्तित्वमाथि गरिने कुनै पनि अन्यायपूर्ण व्यवहारले समग्र उद्योगी व्यवसायीमा नकारात्मक सन्देश जान्छ।’

नाडाले राज्यले गर्ने सत्यतथ्य छानबिन र अनुसन्धान प्रक्रियामा निजी क्षेत्र सधैं सहयोग गर्न तयार रहेको स्पष्ट पार्दै, अनुसन्धानकै नाममा व्यवसायीलाई थुनामा राख्ने प्रवृत्तिको विरोध गरेको छ।

संस्थाका अनुसार, निजी क्षेत्रलाई प्रोत्साहन गर्दै लगानी भित्र्याउनुपर्ने समयमा प्रतिष्ठित व्यवसायीमाथि हुने यस्ता कदमले स्वदेशी तथा विदेशी लगानीकर्तामा त्रासको वातावरण सिर्जना हुने र यसले सरकारको ‘लगानीमैत्री नेपाल’ भन्ने नीतिलाई कमजोर बनाउने देखिन्छ।

नाडाले शेखर गोल्छाको हकमा पक्राउ नगरी छानबिन प्रक्रिया अघि बढाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ।

त्यसैगरी, दोषी प्रमाणित नभएसम्म कुनै पनि प्रतिष्ठित नागरिकको आत्मसम्मान र व्यावसायिक प्रतिष्ठा जोगाउनु राज्यको जिम्मेवारी भएको भन्दै संस्थाले गोल्छाले अनुसन्धानमा पूर्ण सहयोग गर्नेमा आफूहरू विश्वस्त रहेको जनाएको छ।

नाडाले निजी क्षेत्रलाई सुरक्षित र सम्मानित वातावरण प्रदान गर्दै आर्थिक समृद्धिको यात्रामा सरकारसँग सहकार्य गर्न पनि आग्रह गरेको छ।

कांग्रेस तीनतिर

काठमाडौं। नेपाली कांग्रेस अहिले तीनतिर तितरबितर भएको छ। कांग्रेसभित्र स्पष्ट रूपमा तीन गुट देखिन थालेका छन्।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि पार्टीभित्र गुटहरूको संख्या बढेको हो। महाधिवेशनअघि कांग्रेसमा संस्थापन पक्ष र डा. शेखर कोइराला समूह मात्र सक्रिय थिए।

महाधिवेशनपछि पहिलेको संस्थापन पक्ष अहिले निवर्तमान सभापति शेरबहादुर देउवा समूहका रूपमा सक्रिय छ। उक्त समूहको भेला बुधबारदेखि महाराजगञ्जस्थित एक होटलमा जारी छ।

विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा हाल पार्टीको संस्थापन पक्षमा छन् र उनीहरूका गतिविधि नै पार्टीका आधिकारिक कामका रूपमा अघि बढिरहेका छन्।

यस्तै, डा. शेखर कोइराला महाधिवेशनपछि केही समय देउवा समूहसँगै देखिए पनि पछिल्लो अवस्थामा उनले पुनः आफ्नो अलग समूह सक्रिय बनाएका छन्।

गगन र विश्वप्रकाशले तत्कालीन सभापति देउवा र केन्द्रीय कार्यसमितिको अनुमति बिना विशेष महाधिवेशन गरेको भन्दै त्यसविरुद्ध देउवा र शेखर समूहले निर्वाचन आयोग र सर्वोच्च अदालतमा समेत पुगेका थिए।

सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई मान्यता दिएपछि भने शेखरले आफ्नै समूहलाई पुनः सक्रिय बनाएका हुन्।

यसैक्रममा उनले बागमती प्रदेशका आफ्ना पक्षका नेताहरूको भेला बोलाएका छन्। उक्त भेलामा आगामी रणनीतिबारे छलफल हुने  जनाइएको छ।

करेन्टबाट एक महिलाको मृत्यु

धनगढी। धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार पानी तान्ने मोटरमा करेन्ट प्रवाह हुँदा विकको गएराति घटनास्थलमै मृत्यु भएको हो। 

शव परीक्षणका लागि उनलाई सेती प्रादेशिक अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। 

१८ सयले घट्यो सुनको मूल्य

काठमाडौं । आज पनि सुनचाँदीको मूल्यमा गिरावटै देखिएको छ। विगत तीन दिनदेखि दुवै धातुको भाउ लगातार ओरालो लागिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १,८०० रुपैयाँले घटेर २,९२,७०० रुपैयाँ पुगेको छ।

हिजो मात्र सुनको भाउ तोलामा ३,००० रुपैयाँले घटेर २,९४,५०० रुपैयाँमा झरेको थियो। त्यसभन्दा अघिल्लो मंगलबार पनि तोलाको ३,००० रुपैयाँले नै मुल्य घटेको थियो। यसरी हेर्दा तीन दिनमै सुनको मूल्य ७,८०० रुपैयाँले कम भइसकेको छ।

यसअघि आइतबार सुनको मूल्य तोलामा २,७०० रुपैयाँले बढेको र सोमबार १,३०० रुपैयाँले थपिएको थियो। तर गत साताको बुधबार, बिहीबार र शुक्रबार पनि लगातार मूल्य घटेको थियो—शुक्रबार २,२००, बिहीबार १,८०० र बुधबार ८०० रुपैयाँले सुनको भाउ घटेको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले घटेर ४,८१० रुपैयाँमा पुगेको छ।

गएको माघ १५ गते एकैदिन तोलामा २०,५०० रुपैयाँले बढेर सुनको मूल्य ३,३९,३०० रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारमा अहिलेसम्मकै उच्च दर हो। सोही समय, माघ १८ गते, चाँदीको मूल्य भने तोलामा १,५६५ रुपैयाँले घटेको थियो, जसलाई हालसम्मकै सबैभन्दा ठूलो दैनिक गिरावट मानिन्छ।

माघ १५ कै दिन चाँदीको मूल्य ७,५०५ रुपैयाँ पुगेको थियो, जुन चाँदीको अहिलेसम्मकै उच्च मूल्य हो।

१ खर्ब २० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

 काठमाडौँ। बैंकिङ प्रणालीमा अत्यधिक तरलता जम्मा भएपछि नेपाल राष्ट्र बैंकले पुनः निक्षेप संकलन उपकरण प्रयोग गर्दै बजारबाट पैसा निकाल्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले वैशाख १७ गते १२० अर्ब रुपैयाँ बराबरको तरलता तान्ने तयारी गरेको हो। यसका लागि दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ।

निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि, अधिकतम सीमा नाघ्ने गरी ५ करोड रुपैयाँका गुणकमा बोलकबोल पेस गर्न सक्नेछन्। यो प्रक्रिया ब्याजदरका आधारमा हुने छ र चाहेमा बहुब्याजदरका प्रस्ताव पनि पेश गर्न सकिने सुविधा रहनेछ।

निक्षेप संकलनका लागि हुने बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

बालेन सरकार बनेपछि अमेरिकी दूतहरूको लर्को, नेपालप्रति वाशिङ्टनको बढ्दो चासो (भिडियो)

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठन भएपछि नेपालमा अमेरिकी उच्चस्तरीय प्रतिनिधिहरूको आवागमन उल्लेखनीय रूपमा बढेको छ।

पछिल्लो समय एकपछि अर्को अमेरिकी दूतको भ्रमणले नेपालप्रति वाशिङ्टनको चासो बढ्दो रूपमा देखिएको छ।

बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर तीन दिने भ्रमणका लागि बिहीबार काठमाडौं आइपुग्दै छन्।

उनको भ्रमण अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुरले केही दिनअघि मात्र नेपाल भ्रमण सकेर फर्किएको झन्डै दुई साता नपुग्दै हुन लागेको हो।

यसअघि कपुरले नेपालमा रहँदा अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका थिए भने द्विपक्षीय सहकार्य, आर्थिक लगानी र क्षेत्रीय स्थायित्वका विषयमा छलफल गरेका थिए। लगत्तै गोरको भ्रमण तय हुनु अमेरिकाले नेपालसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको देखिएको छ।

गोरले पनि नेपालमा उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम बनाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने योजना भए पनि हालसम्म औपचारिक समय तय भइसकेको छैन। यद्यपि अर्थ र परराष्ट्र मन्त्रालयसँगको भेटघाट भने निश्चित भइसकेको बताइएको छ।

विशेषगरी नयाँ सरकार गठनपछि अमेरिकी पक्षबाट लगातार उच्चस्तरीय प्रतिनिधि आउनु नेपाललाई दक्षिण एसियाली भू-राजनीतिमा महत्वपूर्ण साझेदारका रूपमा हेरिएको संकेत मानिएको छ।

विश्लेषकहरूका अनुसार चीन र भारतबीचको प्रतिस्पर्धात्मक प्रभावबीच अमेरिका पनि आफ्नो उपस्थिति मजबुत बनाउन सक्रिय देखिएको छ।

यही सन्दर्भमा अमेरिकी प्रतिनिधिहरूको ‘लर्को’ लाग्नु केवल औपचारिक भ्रमण मात्र नभई रणनीतिक रुचि, आर्थिक सहकार्य र राजनीतिक सम्बन्ध विस्तारको संकेत भएको जानकारहरू बताउँछन्। आगामी दिनमा यस्ता उच्चस्तरीय भ्रमणहरू अझ बढ्न सक्ने अनुमान गरिएको छ।

बालेन-सेना सम्बन्धमाथि प्रश्न: सुकुम्बासी प्रकरणले चर्कायो बहस

काठमाडौं । सुकुम्बासीहरूको विवरण संकलनका विषयमा नेपाली सेनाको सक्रियताले नयाँ विवाद जन्माएको छ।

विभिन्न स्थानीय तहहरूलाई सुकुम्बासी बस्तीको लगत उपलब्ध गराइदिन पत्राचार गरेपछि सेनाको भूमिका, अधिकार क्षेत्र र सरकारसँगको सम्बन्धलाई लिएर व्यापक बहस सुरु भएको हो।

आलोचकहरूले सेनाको यो कदमलाई शंकास्पद भन्दै कडा आपत्ति जनाएका छन्। उनीहरूका अनुसार सेना आफ्नो परम्परागत सुरक्षा तथा प्रतिरक्षा भूमिकाभन्दा बाहिर गएर नागरिक मामिलामा हस्तक्षेप गर्न खोजिरहेको देखिन्छ। कतिपयले यसलाई नागरिकमाथि निगरानी बढाउने प्रयासका रूपमा समेत व्याख्या गरेका छन्।

विवाद चर्किँदै जाँदा नेपाली सेनाले भने आफ्नो कदमको बचाउ गरेको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भनेका छन्, ‘विशुद्ध विपद् व्यवस्थापन र सम्भावित जोखिम पहिचानका लागि तथ्याङ्क सङ्कलन गरिएको हो ।’

उनका अनुसार सम्भावित बाढी, पहिरो वा अन्य विपद्का समयमा सुकुम्बासी बस्तीहरू बढी जोखिममा हुने भएकाले पूर्वतयारीस्वरूप तथ्याङ्क अद्यावधिक गर्न लागिएको हो ।

उनले संविधानले किटान गरेको दायरामा सेना रहेको स्पष्ट पार्दै भने, ‘हामीले संविधानले दिएको जिम्मेवारीभन्दा बाहिरका कार्य गरेका छैनौँ । धारा २६७ अनुसार विपद् व्यवस्थापनलगायतका कार्यमा सेना खटिन सक्छ ।’

उनले कतिपय विषयलाई गलत ढङ्गले व्याख्या गरेको भन्दै अनावश्यक विवाद नबढाउन आग्रह गरे । तर, सुकुम्बासीको विवरण सङ्कलन गर्ने काम स्थानीय तह वा गृह मन्त्रालयअन्तर्गतका निकायको हो । यद्यपि, यस काममा सेनाको प्रत्यक्ष संलग्नता देखिँदा सेना विवादित बन्यो ।

रक्षा मामिलाका जानकार देवेन्द्रप्रसाद सिटौलाका अनुसार सुकुम्बासीको विवरण संकलन गर्ने कार्य सेनाको क्षेत्राधिकारभित्र पर्दैन । उनी भन्छन्, ‘त्यस्तो विवरण सङ्कलन गर्ने अन्य निकायहरू छन् । त्यो नेपाली सेनाको क्षेत्राधिकार हो कि होइन हेर्नुपर्ने हुन्छ ।’

हालै सेनाका विभिन्न गणहरूले सुकुम्बासी बस्तीहरूको विवरण उपलब्ध गराइदिन स्थानीय तहहरूलाई आग्रह गरेका थिए ।

यसलाई अतिरिञ्जित गर्न आवश्यक नभएको सशस्त्र प्रहरीका पूर्वएआईजी नारायणबाबु थापा बताउँछन् । उनले भने, ‘सेनासँग ठूलो जनशक्ति छ । विगतमा विपद् पर्दा सेना उद्धार कार्यदेखि पुनर्निर्माणमा खटिएको हो । ओली प्रधानमन्त्री हुँदा बारामा हावाहुरीले ठूलो क्षति पुर्‍याउँदा सेना घर पुनर्निमाणमा खटेको थियो । त्यसो हुँदा सेनाले सुकुम्बासीको घर निर्माणका लागि पनि पहल लिन सक्ने कोणबाट लगत संकलन गर्न खोजेको हुन सक्छ ।’

तर, स्थानीय तहहरूले सेनालाई सुकुम्बासीको विवरण बुझाउन अस्वीकार गरेका छन् । बर्दियाको मधुवन नगरपालिका, गेरुवा गाउँपालिकालगायत स्थानीय तहहरूले सेनाको पत्राचार प्रचलित कानुनअनुसार आवश्यक विधि र प्रक्रियाको पालना नगरी आएको देखिएको भन्दै गम्भीर आपत्ति जनाउँदै सुकुम्बासीको विवरण दिन नमानेका हुन् ।
खासगरी प्रधानमन्त्री बालेन र सेनाको अदृश्य सम्बन्धले पनि सेनाको भूमिका शंकाको घेरामा पर्ने गरेको छ । जस्तो, काठमाडौँ महानगरको प्रमुख हुँदा बालेनले पहिलो औपचारिक भेट सेनाका उच्च अधिकारीसँग गरेका थिए ।

जेन–जी विद्रोहपछि राजनीतिक शून्यताको अवस्थामा जेन–जीहरूलाई सरकार गठनबारे ‘प्रधानसेनापतिसँग वार्ता गर’ भनेका थिए । त्यसपछि जेन–जी अगुवाहरू जंगी अड्डा पुगेका थिए । भलै उनीहरूले वार्ता भने राष्ट्रपति रामचन्द्र पौडेलसँग गरे ।

तर, सरकार गठनमा सहजीकरण सेनाले गर्‍यो, जुन बालेनको निर्देशनअनुसार भएको हो । १३ चैतमा प्रधानमन्त्री बनेका बालेनले संसद् बैठकलाई सम्बोधन गरेनन् ।

तर, उनले प्रधानमन्त्री बनेपछि सेनाको कार्यक्रममा गएर सम्बोधन गरे । नयाँ जनादेशसहित गठित शक्तिशाली सरकारको नेतृत्व गर्दा उनले देशवासीलाई सम्बोधन संसद्बाट गर्न उचित ठानेनन् । चुपचाप बसे । तर, सेनाको गएर बोल्नुलाई सेनासँग उनको सम्बन्धबारे शंकास्पद रुपमा हेरिने गरिएको छ ।

अझ उनको निर्देशनपछि प्रहरीले काठमाडौं उपत्यकाको सुकुम्बासी बस्ती हटाउने क्रममा मनोहरा क्षेत्रमा तनाव उत्पन्न भएको र भोलिपल्ट त्यहाँ सेना पुगेको थियो ।

२४ भदौ २०८२ मा राष्ट्रपति भवन शीतल निवास, सिंहदरबार, संसद् भवनलगायत संरचना जल्दा सडकमा ननिस्केका सेना सुकुम्बासी बस्ती हटाउँदा देखिनु र स्थानीय सरकारसँग सुकुम्बासीको विवरण माग्नुले विवादमा तानिएको हो ।

हर्कको व्यङ्ग्य-अहिले चुपचापकालमा सरकारविरुद्ध बोल्न पाइँदैन, कोरस गाइहाल्छन्

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले अभिव्यक्ति स्वतन्त्रताको अवस्थाबारे चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन्।

राणाकालसँग तुलना गर्दै वर्तमान समयमा पनि सरकारविरुद्ध खुलेर बोल्न कठिन भइरहेको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘राणाकालमा बोल्न पाइँदैन थियो, अहिले चुपचाप कालमा पनि सरकार विरुद्ध बोल्न पाइँदैन।

साम्पाङले अहिलेको परिस्थितिलाई ‘चुपचाप काल’ भन्दै बालेन सरकारलाई व्यङ्ग्य गरे ।

यदि, बालेन सरकारको विरुद्ध बोले गालीको वर्षा हुने गरेको बताएका छन् ।

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भने- जनप्रतिनिधिलाई विशेष उन्मुक्ति दिन मिल्दैन

काठमाडौं । प्रतिनिधि सभाको कार्य सञ्चालन नियमावली संशोधन प्रस्तावका केही प्रावधानप्रति नेपाली कांग्रेसले गम्भीर असहमति जनाएको छ।

संशोधन मस्यौदा कार्यदलमै आफ्ना प्रतिनिधिहरूले मौखिक रूपमा असहमति राखिसकेको उल्लेख गर्दै कांग्रेसले संसदीय प्रक्रियामार्फत औपचारिक रूपमा विरोध जनाउने तयारी गरेको हो।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आड०देम्बेका अनुसार विशेषगरी फौजदारी अभियोग लागेका सांसदलाई अदालतमा मुद्दा विचाराधीन रहेका बेला निलम्बन गर्न नपर्ने गरी उन्मुक्ति दिने आशयको प्रस्तावप्रति पार्टी असहमत छ।

‘फौजदारी कानुनको प्रयोगमा आम नागरिक र जनप्रतिनिधिबीच फरक मापदण्ड लागू गर्नु कानुनको शासनविरुद्ध हो,’ उनले भने, ‘यसले विभेद र असमानता सिर्जना गर्छ।’

कांग्रेसले यस्तो प्रावधानले जनप्रतिनिधिलाई विशेष सुविधा दिने गलत सन्देश जाने र न्यायिक प्रक्रियामा असर पर्ने चिन्ता व्यक्त गरेको छ। पार्टीले विधिको शासन र समानताको सिद्धान्तलाई कमजोर पार्ने कुनै पनि प्रावधान स्वीकार्य नहुने स्पष्ट पारेको छ।

यसैबीच, कांग्रेसले प्रतिनिधि सभाको नियमावलीलाई संसदीय कार्य सञ्चालनको मूल आधार मान्दै आएको भए पनि यसले अन्य प्रचलित कानुनहरूलाई ओभरराइड गर्न नसक्ने धारणा राखेको छ।

‘नियमावलीले विशेष कानुनको हैसियत लिन सक्दैन,’ आड०देम्बेले भने, ‘यस विषयमा जनमानसमा देखिएको अन्योल हटाउन आवश्यक स्पष्टता दिनुपर्ने हुन्छ।’

संशोधन प्रस्तावबारे सार्वजनिक रूपमा उठेका चासोप्रति कांग्रेस गम्भीर रहेको उल्लेख गर्दै पार्टीले नियमावलीको सीमा र भूमिका स्पष्ट पार्न प्रतिबद्धता जनाएको छ।

अध्यादेश फिर्ता गर्न बालेन सरकारलाई विपक्षी दलहरूको दबाब, प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई सुझाव

काठमाडौं । बालेन सरकारले संसद छलेर ल्याएका अध्यादेशहरू राजनीतिकवृत्तमा ठूलो विवादको विषय बनेका छन्। विपक्षी दलहरूले अध्यादेश ल्याउने सरकारको कदमलाई ‘अलोकतान्त्रिक, असंसदीय र जनताप्रति गैरजवाफदेही’ भन्दै विराेध गरेका छन् ।

सरकारले सहकारी समस्या समाधान तथा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि विपक्षी दलहरुले सरकारकाे तीब्र आलाेचना गरेका छन् ।

यसबीच थप तीन अध्यादेश (विश्वविद्यालय, स्वास्थ्य र केही ऐन संशोधनसम्बन्धी)  राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि राजनीतिक वातावरण झनै तातेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश भने जारी गरेका छैनन् । विगतमा रास्वपा सभापति रवि लामिछाने अध्यादेशकाे विराेध गर्थे ।

तर, उनकै दलबाट प्रधानमन्त्री बनेका बालेनले संसद छलेर अध्यादेश ल्याएपछि प्रतिरक्षा गर्दै अध्यादेश ल्याउँदा ‘नियत’ र अन्तर्वस्तुलाई हेर्नुपर्ने बताएका छन् ।

यद्यपि, चार विपक्षी दलले भनेका छन्, ‘संसदको अधिवेशन आव्हान गरेलगत्तै स्थगन गरी अध्यादेश ल्याउनु घोर असंसदीय र अलोकतान्त्रिक कदम भएकोले हामी घोर विरोध, भत्सर्ना र निन्दा गर्दछौं,’ बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त अध्यादेशहरू अविलम्ब फिर्ता गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।’

विपक्षी दलहरूले राष्ट्रपति पौडेलसँग सिफारिस भएका अध्यादेशहरू स्वीकृत नगर्न पनि अनुरोध गरेका छन् । उनीहरूले स्थगन गरिएको संघीय संसदको अधिवेशन अविलम्ब आव्हान गर्न पनि माग गरेका छन् ।

कांग्रेस संसदस्य दलका नेता आङ्देम्बेको अध्यक्षतमा बसेको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सरस्वती लामा सहभागी थिए । बैठकमा अर्को विपक्षी दल श्रम संस्कृति पार्टीको सहभागिता भने थिएन ।

चार विपक्षी दलहरू कांग्रेस संसदीय दलको बैठकमा अध्यादेशबारे छलफल गरिरहँदा सरकारले थप तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालय स्रोतका अनुसार सरकारले बुधबार विश्वविद्यालय, स्वास्थ्य र केही नेपाल ऐन संशोधन गर्न बनेका अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

अध्यादेशकाे विरुद्धमा रास्वपाका केही सा‌सदहरु खुलेरै विराेधमा उत्रिएका छन् । रास्वपा सांसद गणेश कार्कीले बालेन सरकारले संसद् छलेर ल्याएको अध्यादेशको विरोध गरेका छन् ।

उनले ‘अध्यादेश ल्याउनु बालेन सरकारको कुनै ‘बहादुरी’ काम नभएको बताए । अन्य केही सांसदले समाचारमा नाम उल्लेख नगर्ने सर्तमा अध्यादेशकाे विराेध गरेका छन् ।

जेन-जी विद्राेह प्रभाव : पार्टी र राज्यसत्तामा युवासँगै सीमान्तकृत समुदाय निर्णायक तहमा

काठमाडौं । पार्टी र राजकीय सत्ता दुवैमा जेन–जी विद्रोहपछि पूरै पुस्तान्तरण भएको छ । समावेशी चरित्रको राज्यसत्ता निर्माण भएको छ ।

युवा वर्ग राजनीतिक दल, संसदीय दलदेखि सत्तासम्मै निर्णायक भूमिकामा देखिएका छन् । महिला, आदिवासी, दलितदेखि मधेसीसम्मका समुदायको अर्थपूर्ण मात्रै नभएर नेतृत्वपंक्तिमै सम्मानजनक उपस्थिति देखिएको छ ।

यसअघि खस–आर्य पुरुषको एकल वर्चश्व कायम थियो । पार्टी र राज्यसत्ताको नेतृत्वमा हेर्ने हो भने यसपटक पूरै अदलीबदली भएको छ ।

प्रधानमन्त्री मधेसी मूलका बालेन्द्र शाह (बालेन) छन् । नेपालमा मधेसकेन्द्रित राजनीति थालनी भएको २००८ सालमा भए पनि देशको शासकीय नेतृत्व मधेसका नागरिकले पाउन ७४ वर्ष कुर्नुपर्‍यो । त्यसअघि मधेसका नेताहरू राज्यसत्तामा उपप्रधानमन्त्रीसम्म भए । प्रधानमन्त्री भएर शासनसत्ता सञ्चालन गर्नबाट बञ्चित भएका थिए । यसपटक युवा र मधेसी मूलका नेता बालेन प्रधानमन्त्री भएका हुन् ।

उनीभन्दा अघि देशले पहिलो महिला प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीलाई पाएको थियो । नेपालमा पहिलो महिला जनप्रतिनिधि निर्वाचित भएको २०१० सालयता गणना गर्दा नेपाललाई महिला प्रधानमन्त्री पाउन ७२ वर्ष लाग्यो ।

पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्की जेन–जी विद्रोहपछिको राजनीतिक शून्यतामा देशको बागडोर सम्हाल्न आइपुगिन् । दलहरुबीच संवादहीनताको स्थिति, सुरक्षा जोखिमका कारण निर्वाचन हुने संशय र संविधान मरेतुल्य भएको अवस्थामा प्रधानमन्त्री बनेकी थिइन् । उनकै सरकारले २१ फागुनमा सम्पन्न गरेको निर्वाचनबाट प्राप्त जनादेशपछि युवा नेता बालेन प्रधानमन्त्री बनेका हुन् ।\

देशको भावी प्रधानमन्त्रीका रुपमा लिइने विपक्षी नेता आदिवासी समुदायका छन् । उनी हुन्– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे । कांग्रेसको संस्थापक परिवारका आङ्देम्बे कांग्रेस स्थापना भएको आठ दशकमा आदिवासी जनजाति समुदायबाट दलको नेता बन्ने पहिलो राजनीतिज्ञ बने ।

उनले संसदीय दल गठन गर्दा युवा सांदसहरूलाई मौका दिएका छन् । बासना थापालाई प्रमुख सचेतक र निश्कल राईलाई सचेतक बनाए । राष्ट्रियसभा संसदीय दलको नेता महिला सांसद कमला पन्तलाई बनाए । प्रमुख सचेतक दलित सांसद पदमबहादुर परियारलाई बनाए ।

उनको दल कांग्रेसको सभापति युवा नेता गगन थापा छन् । गत वर्ष २०८२ को पुस अन्तिम साता विशेष महाधिवेशन गरेर थापा पार्टीको नेतृत्वमा पुगेका हुन् । उनले पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवालाई अपदस्त गरिदिए ।

नेकपा एमालेमा पार्टी पुनर्गठन गर्नुपर्ने माग जोडले उठेको छ । पहिलो र दोस्रो नभई तेस्रो तहबाट पार्टीको नेतृत्व हुनुपर्ने बहस भइरहेको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा पनि केन्द्रीय कमिटीमा ६० प्रतिशत युवाको प्रतिनिधित्व हुनुपर्ने माग उठेको छ । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ युवा प्रतिनिधित्वको माग सम्बोधन गर्न तीब्र दबाबमा छन् ।

युवा प्रधानमन्त्री बालेनको मन्त्रिपरिषद्मा युवा मन्त्रीहरूको स्पष्ट वर्चश्व छ । प्रतिनिधिसभामा पनि युवा सांसदहरूको बाहुल्यता छ ।

त्रिभुवन विश्वविद्यालयका राजनीतिशास्त्रका प्रा.डा. तारानाथ घिमिरे यो असहजतापूर्ण ढंगले पार्टी र राज्यसत्तामा पुस्तान्तरण भएको बताउँछन् ।

उनले नेपालवान एचडीसँग भने, ‘सहजरूपमा पुस्तान्तरण भएको होइन । विकसित राजनीतिक घटनाको दबाबमा परेर पुस्तान्तरण भएको हो, जुन अलिक पहिल्यै हुनुपथ्र्यो ।’

गत निर्वाचनले जनादेशमा पनि नयाँ खोज्यो । पुराना राजनीतिक शक्तिहरू कांग्रेस, एमाले, नेकपा, राप्रपालगायतलाई निकै कमजोर बनायो । नयाँ भनिएका रास्वपालाई दुई तिहाई नजिकको जनमत दियो भने श्रम संस्कृति पार्टीलाई नयाँ दलको रुपमा उदय गरायो ।

ट्रम्पको तस्वीर भएको पासपोर्ट निकाल्ने तयारीमा अमेरिका

काठमाडौं। अमेरिकाले चाँडै राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर रहने नयाँ डिजाइनका पासपोर्ट जारी गर्न सुरु गर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले मंगलबार दिएको जानकारीलाई सीएनएनले सार्वजनिक गरेको हो।

अधिकारीका अनुसार वासिङ्टन पासपोर्ट एजेन्सीमार्फत प्रत्यक्ष रूपमा पासपोर्ट नवीकरण गर्नेहरूका लागि यो डिजाइনের पासपोर्ट “डिफल्ट” रूपमा उपलब्ध हुनेछ। तर अनलाइन वा अन्य स्थानबाट नवीकरण गर्नेहरूले भने हालकै पासपोर्ट डिजाइन नै पाउनेछन्।

ट्रम्पको छवि अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवका अवसरमा प्रयोग गरिएको हो, जसलाई यस विशेष समारोहसँग जोडिएको सबैभन्दा महत्त्वपूर्ण प्रतीकको रूपमा हेरिएको छ। नयाँ पासपोर्टमा ट्रम्पको अनुहार र हस्ताक्षर भित्री आवरणमा सुनौलो अक्षरमा छापिनेछ।

विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगटले भने, ‘अमेरिकाले जुलाईमा २५०औँ वार्षिकोत्सव मनाउँदैछ। यस ऐतिहासिक अवसरलाई सम्झन सीमित संख्यामा विशेष डिजाइनका पासपोर्ट जारी गर्न तयारी भइरहेको छ।’ उनका अनुसार यी पासपोर्टमा उन्नत कलात्मक डिजाइन र उच्च गुणस्तरका तस्बिर रहनेछन्, तर अमेरिकी पासपोर्टका सुरक्षात्मक विशेषताहरू भने अपरिवर्तित रहनेछन्।

नयाँ डिजाइनका पासपोर्ट गर्मीयामदेखि नै वितरण सुरु हुने मन्त्रालयले जनाएको छ। तर कति संख्यामा पासपोर्ट जारी गरिने भन्ने जानकारी खुलाइएको छैन।

नमुना डिजाइनअनुसार नयाँ पासपोर्टको पछाडिल्लो आवरणमा जोन ट्रम्बुलको सुप्रसिद्ध चित्र डिक्लेरेसन अफ इन्डिपेन्डेन्सबाट दृश्य समावेश हुनेछ।

हाल प्रयोगमा रहेको अमेरिकी पासपोर्टमा पर्सी मोरानद्वारा बनाइएको फ्रान्सिस स्कटकीको चित्र छ, जसमा फोर्ट म्याकहेनरी माथि भएको गोलाबारीपछि देखिएको बिहानको दृश्य चित्रित गरिएको छ। यही युद्धबाट प्रेरित भई स्कटकीले अमेरिकी राष्ट्रिय गान लेखेका थिए, जसका केही पंक्ति पासपोर्टमा छापिएका छन्।

ओमानसँग नेपाल १०२ रनले पराजित

काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमानसँग पराजय व्यहोरेको छ। कीर्तिपुरस्थित टियु मैदानमा वर्षाले प्रभावित खेलमा नेपाल डिएलएस विधिमा १०२ रनले पराजित भयो।

३०६ रनको लक्ष्य पछ्याएको नेपालले ३६.५ ओभरमा ७ विकेट गुमाउँदै १५५ रन मात्रै जोड्न सक्यो। नेपालका दीपेन्द्र सिंह ऐरीले ६० रनको उत्कृष्ट अर्धशतकीय पारी खेले पनि अन्य बल्लेबाजले उल्लेखनीय योगदान दिन सकेनन्। भीम सार्कीले २८, आसिफ शेखले १९, आरिफ शेख र गुलशन झाले १४–१४ रन तथा कप्तान रोहित पौडेलले १० रन बनाए। प्रारम्भिक जोडी कुशल भुर्तेल र बसिर अहमद भने १–१ रनमै आउट भए।

ओमानका नदिम खानले ३ विकेट लिए भने शकिल अहमदले २ तथा वसिम अली र मुहम्मद इमरानले १–१ विकेट हात पारे।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रनको विशाल योगफल बनायो। कप्तान जतिन्दर सिंहले ९६ बलमा १५ चौका र ५ छक्कासहित १३० रनको शानदर शतकीय इनिङ्स खेले। यस्तै, जितेन रमानन्दीले ४३, आर्यान बिश्टले ३५, हम्माद मिर्जाले ३० तथा विनायक शुक्ला र आशिष ओडेदाराले २३–२३ रन जोडे।

नेपालका बलर सोमपाल कामी सर्वाधिक सफल रहे, उनले ४ विकेट लिए। सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट हात पारे।

नेपालले श्रृंखलाको पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो भने ओमान भने यूएईसँग २५ रनले पराजित भएको थियो।

कलाकर्मीहरुको प्रदर्शन माइतीघर(तस्बिरहरु)

काठमाडौं । कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रता संरक्षणको माग राख्दै कलाकार तथा सिर्जनशील समुदायले आज शान्तिपूर्ण विरोध कार्यक्रम सम्पन्न गरेका छन्।

विभिन्न पेशागत संघ-संगठनमा आबद्ध कलाकार, लेखक, निर्देशक, समालोचक र विद्यार्थीहरू सहभागी रहेको उक्त प्रदर्शनमा अभिव्यक्ति र सिर्जनात्मक स्वतन्त्रतामाथि बढ्दो अंकुशबारे चिन्ता व्यक्त गरियो। सहभागीहरूले ‘सृजनामाथि नियन्त्रण फिर्ता गर’, ‘कला स्वतन्त्रता हाम्रो पहिचान हो’ जस्ता प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए।

विरोधमा सहभागी कलाकारहरूले सृजनात्मक क्षेत्रमा सेन्सर, प्रतिबन्ध र दबाबका कारण स्वतन्त्र अभिव्यक्ति खुम्चिएको बताउँदै सरकारले संवैधानिक अधिकारको पूर्ण सुनिश्चितता गर्नुपर्ने माग गरे। साथै, कलाकारहरूले सिर्जना, विचार र अभिव्यक्तिलाई लोकतान्त्रिक समाजको आधार भएको बताए।

प्रमुख विपक्षी नेता भीष्मराज आङ्देम्बे र इजरायली राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रमुख विपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँग नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले भेटवार्ता गरेका छन् ।

त्यस क्रममा राजदूत बासले दलको नेता चयन भएकोमा आङ्देम्बेलाई बधाई तथा शुभकामना दिएका थिए । आङ्देम्बेले पनि राजदूत बासलाई धन्यवाद ज्ञापन गरे ।

नेता आङ्देम्बे र राजदूत बासबीच नेपाल–इजरायल द्विपक्षीय आपसी हितको पक्षमा कुराकानी भएको थियो ।

राजदूत बास नेता आङ्देम्बेलाई भेट्न बुधबार दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेका थिए ।

डोजर चलेपछि यस्तो देखियो मनोहरा सुकुमवासी बस्ती(तस्बिरहरु)

काठमाडौं। सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्ती खाली गर्ने तयारीसँगै केही दिनअघि मनोहरा क्षेत्र तथा थापाथली गैरीगाउँका सुकुम्बासी बस्तीमा डोजर चलाएको थियो। सरकारको निर्देशनअनुसार नेपाल प्रहरीको सहयोगमा महानगरपालिकाले बस्ती हटाउने कार्य गरेको हो।

हाल उक्त क्षेत्रमा घर–टहरा भएका व्यक्तिहरूले बाँकी रहेका सामानहरू सारिरहेका छन् भने केही स्थानमा फलाम तथा कवाडी संकलन गर्ने काम पनि भइरहेको छ।

नेपाल सरकार, शहरी विकास मन्त्रालयअन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गुहेश्वरी फाँट, काठमाडौंबाट सूचना जारी गर्दै नदी किनार क्षेत्रमा राखिएका आफ्ना सम्पूर्ण सामानहरू भोलिसम्म अनिवार्य रूपमा हटाई व्यवस्थित गर्न आग्रह गरेको छ।

 

ब्रह्माण्डमा कुकुरहरू

काठमाडौंमानव जातिले सधैं जिज्ञासा, आश्चर्य र विशाल ब्रह्माण्डमा आफ्नो स्थान बुझ्ने गहिरो चाहना राख्दै आएको छ। असंख्य ताराहरू, आकाशगंगाहरू र रहस्यमय ब्रह्माण्डीय घटनाहरूको बीचमा हामी प्रायः अपरिचित कुरालाई बुझ्न परिचित विचारहरूलाई प्रयोग गर्छौं। 

यसै प्रवृत्तिको सबैभन्दा रोचक उदाहरणमध्ये एक हो-कुकुर । कुकुरहरू निःस्वार्थ प्रेम र निष्ठाको प्रतीक हुन्। 

हालसम्म कुनै वैज्ञानिक प्रमाणले पृथ्वी बाहिर कुकुरजस्तो जीवन रहेको पुष्टि गरेको छैन तर ब्रह्माण्डमा कुकुरहरूको कल्पनाले दर्शन, विज्ञान, भावना र मानव कल्पनाशक्तिको दायरालाई भने बढाउदै लैजान्छ।

कुकुरहरू आदिम समयदेखि पृथ्वीमा बस्दै आएका छन्। र मानव जातीको ऐना जस्तै छन्। ढुङ्गे युगदेखि आधुनिक शहरी जीवनसम्म, कुकुरहरू केवल जनावर मात्र नभई मानव जीवनको सारथी जस्ता पनि देखिन्छन्।  उनीहरूको निष्ठा र  बुद्धिमत्ताले उनीहरूलाई अन्य प्रजातिहरूभन्दा विशेष बनाएको छ।

यही कारणले पनि मानव जातिले पृथ्वी बाहिरको ब्रमाण्डीय जीवनको कल्पना गर्दा पनि कुकुरहरू बाहिर रहदैनन् वा चाहेर पनि पर्दैनन् । यो केवल संयोग होइन, मानव जातिको भावनात्मक संरचनासँग जोडिएको कुरा हो। ब्रह्माण्डमा कुकुरको उपस्थिति आजपनि आत्मीयता र निष्ठाको प्रतीक जस्तो छ। यही कारणले भनिएको हुनुपर्छ- मानिस भन्दा कुकुर इमानदार हुन्छ। 

कुकुरहरू मानव जातिसँग मात्र होइन, ब्रह्माण्डीय इतिहासको पनि साक्षी बनेका थुप्रै उदाहरण छन् । अन्तरिक्ष अनुसन्धानको प्रारम्भिक चरणमा वैज्ञानिकहरूले जीवित प्राणीहरू अन्तरिक्षको कठोर वातावरणमा कसरी प्रतिक्रिया गर्छन् भन्ने बुझ्न चाहन्थे। त्यस क्रममा कुकुरहरू अन्तरिक्षमा परीक्षण हुने पहिलो जीव बने।

लाइका- एक सडक कुकुर, जसलाई सन् १९५७ मा सोभियत अन्तरिक्षयानमार्फत कक्षामा पठाइएको थियो।लाइका- पृथ्वीको परिक्रमा गर्ने पहिलो जीवित प्राणी मानिन्छ । लाइकाको त्यो परिक्षणबाट नै मानव अन्तरिक्ष यात्राको ढोका खोलिदियो।

त्यसपछि अन्य कुकुरहरूले पनि विभिन्न वैज्ञानिक मिसनहरूमा सहभागी गराइएको छ । उनीहरूले वैज्ञानिक अन्वेषणमा गुरुत्वहीनता, तीव्र गति र विकिरणको प्रभाव अध्ययन गर्न ठुलो मद्दत गरेका छन् । यसरी कुकुरहरू कुकुरहरु मात्रै बनेनन्, उनीहरु पृथ्वीबाट ब्रह्माण्डतर्फ जाने पहिलो जीवित जीवन बने।

भनिन्छ- वैज्ञानिक युगभन्दा धेरै अघि विभिन्न सभ्यताहरूले ताराहरूमा आकृति, कथा र परिचित चित्रहरू देख्थे। तीमध्येका आकृतिहरुमा कुकुरहरू पनि थिए। ग्रीक पौराणिक कथाका अनुसार आकाशगङ्गामा दुई कुकुर तारामण्डल छन्-क्यानिस मेजर र क्यानिस माइनर। 

अन्य विभिन्न संस्कृतिहरूमा कुकुरलाई संरक्षण, मार्गदर्शन र आत्माको यात्रासँग जोडिएको पाइन्छ। प्राचीन इजिप्टमा कुकुर वा स्यालजस्तो देवताहरूले आत्मालाई परलोकतर्फ मार्गदर्शन गर्ने विश्वास थियो। 

विभिन्न वैज्ञानिक अन्वेषणहरुले कुकुरहरू अन्य ग्रहमा हुन सक्ने सम्भावना अत्यन्तै न्यून देखाएका छन्। तर कुकुरजस्ता जीवहरूको सम्भावना भने पूर्ण रूपमा नकार्न भने सकिंदैन । विज्ञानको विकासक्रमले समान समस्याको समाधानमा समान रूपहरू सिर्जना गर्न सक्छ, जसलाई कन्भरजेन्ट रिभोलुसन भनिन्छ। पृथ्वीमै ब्वाँसो, हाइना र केही मार्सुपियल जनावरहरूमा समान संरचना र व्यवहार देखिन्छ। त्यस्तै समान विशेषता भएका कुकुर जस्तै जीव अन्य ग्रहमा हुन सक्ने वैज्ञानिकहरुले दाबी गर्छन्।  तर अहिलेसम्मका अन्वेषणबाट त्यो पुष्टि भने हुन सकेको छैन। 

वैज्ञानिक कथाहरूमा कुकुरहरू प्रायः अन्तरिक्ष यात्रीहरूको साथीका रूपमा देखिन्छन्। उनीहरूले भावनात्मक सहयोग, सुरक्षा र आत्मीयताको प्रतीकको रूपमा काम गर्छन्। कतिपय कथाहरूमा अन्य ग्रहका सभ्यताहरूमा पनि कुकुरजस्ता साथी प्राणीहरू देखाइन्छ। 

बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २७ जना घाइते

बुटवल ।रुपन्देहीमा दुई सवारी साधन ठोक्किँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

बुटवल–बर्दघाट सडक खण्डअन्तर्गत गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रो बस र ईभी माइक्रो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको बागमती प्रदेश ००ख ८९२८ नम्बरको ईभी माइक्रो ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको छ। बाँकी घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरी चौकी देवदह खैरेनीका अनुसार मृतकहरूको पहिचान र ठेगाना खुल्न बाँकी रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

बालेनले पार्टी फुटाउन अध्यादेश नल्याएको रविको प्रष्टोक्ति

काठमाडौं । विगतका सरकारले अध्यादेश ल्याउन खोज्दा चर्को विरोध गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले अध्यादेश पार्टी फुटाउन नल्याएको बताएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको अध्यादेशबारे उठिरहेका विभिन्न टिप्पणीप्रति पार्टीको आधिकारिक धारणा सांसदहरूलाई स्पष्ट पारेका हुन् ।

बुधबार बसेको संसदीय दलको बैठकमा उनले विगतमा राज्य संयन्त्रमा भएका अनावश्यक दलीयकरण र गलत नियुक्तिहरू सच्याउने उद्देश्यले अहिलेको अध्यादेश ल्याइएको दाबी गरे। लामिछानेका अनुसार पुराना सरकारहरूले अध्यादेशलाई दल विभाजन गर्ने वा विपक्षीलाई नियन्त्रणमा राख्ने माध्यमका रूपमा प्रयोग गर्दै आएका थिए।

तर अहिलेको अभ्यास त्यस्तो नभई आवश्यक सुधार र व्यवस्थागत सुधारका लागि गरिएको उनले बताए। ‘विगतमा अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न प्रयोग गरिन्थ्यो, तर अहिले कसैलाई दुख दिन वा कसैलाई विशेष सुविधा दिन होइन, सुधारका लागि ल्याइएको हो,’ उनले सांसदहरूलाई भने।

लामिछानेले यो कदम कानुनी दायराभित्र रहेर गरिएको अभ्यास भएको उल्लेख गर्दै रास्वपाले कानुन, राजनीतिक व्यवहार र लोकतान्त्रिक मूल्यप्रति जिम्मेवार भूमिका निर्वाह गरिरहेको दाबी गरे। उनले संसदीय समितिहरूको गठन प्रक्रियामा समेत पार्टीले सुधारात्मक दृष्टिकोण अपनाएको बताए।

उनका अनुसार विगतमा प्रधानमन्त्रीकै पार्टीका सांसद लेखा समिति प्रमुख बनेको उदाहरण भए पनि रास्वपाले भने त्यस्ता अभ्यासहरू सच्याउने प्रयास गरेको छ। उनले पार्टीले पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको समेत जोड दिए।

तर विगतमा रास्वपा प्रतिपक्षमा हुँदा रविले सरकारले अध्यादेश ल्याएको भन्दै चर्को विरोध गर्ने गरेका थिए। 

२५ अंकले घट्यो नेप्से

काठमाडौं । बुधबार सेयर बजारमा २५.८१ अंकको गिरावट आएको छ। यससँगै नेप्से परिसूचक २,७४४ अंकमा झरेको छ। अघिल्लो दिन पनि नेप्से २६.१६ अंकले घटेको थियो।

आज कारोबार रकम पनि घटेको देखिएको छ। अघिल्लो दिन ६ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएकोमा आज घटेर ४ अर्ब ९८ करोड रुपैयाँमा सीमित भयो। बजारमा ३० कम्पनीको मूल्य बढ्दा २३५ कम्पनीको मूल्य घट्यो भने ४ कम्पनीको मूल्य स्थिर रह्यो।

सेक्टरतर्फ व्यापार समूह १.०९ प्रतिशत र विकास बैंक समूह ०.१४ प्रतिशतले बढे पनि अन्य अधिकांश समूह भने घटेका छन्। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.२४ प्रतिशतले घट्यो। यस्तै बैंकिङ ०.७६, फाइनान्स ०.६४, होटल तथा पर्यटन १.६४, हाइड्रोपावर १.४५, लगानी ०.६६, जीवन बीमा ०.८४, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा १.११ र अन्य समूह ०.९२ प्रतिशतले घटेका छन्।

व्यक्तिगत कम्पनीतर्फ कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १३.८१ प्रतिशतले बढ्यो। त्यसैगरी लक्ष्मी लघुवित्त २.६६, धौलागिरि लघुवित्त २.३३ र भुजुङ हाइड्रोपावर २.२६ प्रतिशतले बढे।

अर्कोतर्फ शिखर पावरको मूल्य सबैभन्दा धेरै ९.९२ प्रतिशतले घट्यो। पाल्पा सिमेन्ट इन्डस्ट्रिज ७.७९, त्रिशूली जलविद्युत ६.९८ र झापा इनर्जी ५.८३ प्रतिशतले घटेका कम्पनीमा परे।

आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, पाल्पा सिमेन्ट इन्डस्ट्रिज, कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाइड्रोपावर र नेसनल हाइड्रोपावर रहेका छन्।

आर्टिमिस आईआई मिसनपछि अन्तरिक्ष यात्रीहरूको उत्साह: चन्द्रमा यात्रातर्फ नजिकिँदो कदम

काठमाडौं। अमेरिकी अन्तरिक्ष संस्था नासा को आर्टिमिस आईआई मिसन पूरा गरेर पृथ्वी फर्किएको छ दिनमै अन्तरिक्ष यात्रीहरू पुनः चन्द्रमामा पाइला राख्ने सम्भावनाबारे उत्साहित देखिएका छन्।

मिसनका कमाण्डर रेड विसम्यानले ह्युस्टनस्थित जोनसन स्पेस सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चन्द्रमामा अवतरण गर्ने आगामी योजनालाई प्राविधिक रूपमा चुनौतीपूर्ण भए पनि पूर्ण रूपमा सम्भव बताएका छन्। उनले द न्युयोर्क टाइम्ससँग भने, ‘यदि आजै ल्यान्डर तयार भएको भए, मेरो टोलीका कम्तीमा तीन जना चन्द्रमामा अवतरण गर्न तयार हुन्थे।’

आर्टिमिस आईआई मिसन सफलतापूर्वक सम्पन्न भएको भन्दै उनले अन्तरिक्ष यानले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको उल्लेख गरे। ‘यदि आवश्यक परे हामी अझै लामो समय अन्तरिक्षमै बस्न सक्थ्यौँ,’ उनले भने। उनले यो यानलाई मंगल ग्रहसम्मको यात्राका लागि पनि पर्याप्त सक्षम देखिएको टिप्पणी गरे।

यो मिसन अप्रिल १ मा प्रक्षेपण गरिएको थियो र करिब ६,९४,४८१ माइल दूरी तय गरी पृथ्वीको कक्षाभन्दा बाहिरको ऐतिहासिक यात्रा गरेको हो। करिब ५० वर्षपछि मानवलाई पृथ्वीको नजिकको कक्षाभन्दा बाहिर पुर्‍याउने यो पहिलो मिसन भएको नासाले जनाएको छ।

टोलीमा कमाण्डर विसम्यानसहित नासाका भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानाडाली अन्तरिक्ष एजेन्सीका जेरेमी ह्यान्सन सहभागी थिए। उनीहरूले मिसनका क्रममा केही समस्या आए पनि समग्रमा सफल भएको बताए।

ह्यान्सनले भविष्यका चन्द्रमामुखी मिसनहरूका लागि थोरै जोखिम स्वीकार गर्नुपर्ने बताए भने कोचले अन्तरिक्ष यात्रापछि पृथ्वीमा पुनः समायोजन हुन समय लागिरहेको अनुभव सुनाइन्।

मिसनका क्रममा अन्तिम दिनमा धुवाँ डिटेक्टर बज्दा केही क्षण तनाव सिर्जना भएको थियो। तर अन्तरिक्ष यानले पुनः प्रवेशका बेला राम्रो प्रदर्शन गरेको र यसको ताप ढाल अपेक्षाअनुसार सुरक्षित रहेको नासाले जनाएको छ।

आर्टिमिस आईआई पछि अब नासाले आर्टिमिस आईआई मिसनको तयारी गरिरहेको छ, जसले चन्द्रमामा अवतरणअघि डकिङ परीक्षण गर्नेछ। यो मिसन करिब एक वर्षभित्र प्रक्षेपण हुने अपेक्षा छ। त्यसपछिआर्टिमिस आईभी अन्तर्गत सन् २०२८ सम्ममा मानवलाई पुनः चन्द्रमाको सतहमा उतार्ने लक्ष्य राखिएको छ।

अन्तरिक्ष यात्री विसम्यानले आगामी मिसनका तयारीमा आफू संलग्न हुन चाहेको बताउँदै भने, ‘यदि मैले आगामी टोलीलाई तयार पार्न सहयोग गर्न सकें भने त्यो मेरो लागि ठूलो गर्व हुनेछ।’

मिसनपछि अन्तरिक्ष यात्रीहरू पृथ्वी फर्किएपछि विभिन्न चिकित्सा परीक्षण र अनुसन्धान प्रक्रियामा सहभागी भइरहेका छन्, जसलाई नासाले भविष्यका अन्तरिक्ष यात्राका लागि महत्वपूर्ण डाटा संकलनका रूपमा लिएको छ।

विपक्षी दलहरूको बैठक तीनवटा निर्णय गर्दै सिंहदरबारमा सम्पन्न(तस्बिरहरु)

काठमाडौं। कांग्रेस संसदीय दलका भिष्मराज आङ्देम्बेले बोलाएको विपक्षी दलहरूको संसदीय दलको बैठक तीनवटा निर्णय गर्दै सम्पन्न भएको छ।

बैठकले सरकारले संसद छलेर अध्यादेश ल्याएको निर्णयको विरोध गर्ने, राष्ट्रपति कहाँ पुगेको अध्यादेश प्रमाणीकरण नगर्न अनुरोध गर्ने र संसद छिटो बोलाउन ध्यानाकर्षण गराउने लगायतका निर्णय गर्दै सम्पन्न भएको हो।

बैठकमा नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, नेकपाका प्रमुख सचेतक युवराज दुलाल र राप्रपाकी सचेतक सरस्वती लामा लगायतको उपस्थिति थियो। बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको थियो।

ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार दैलेखको नौमुले गाउँपालिका–८ की २९ वर्षीया ज्वालाकुमारी चन्द, कास्कीको पोखरा महानगरपालिका–१२ की ३९ वर्षीया भीमकुमारी गुरुङ र गोरखाको सिरानचोक गाउँपालिका–६ का ३७ वर्षीय भगवानराज ठकुरीलाई मंगलबार पक्राउ गरिएको हो।

अनुसन्धानअनुसार ज्वालाकुमारीले अजरबैजान पठाइदिने भन्दै एक पीडितबाट ३ लाख ३४ हजार रुपैयाँ ठगी गरेकी थिइन्। त्यसैगरी भीमकुमारीले हङकङ पठाइदिने प्रलोभनमा अर्का पीडितबाट ५ लाख रुपैयाँ लिएकी थिइन् भने भगवानराजले बेलायत पठाइदिने भन्दै १ लाख २० हजार रुपैयाँ ठगेको पाइएको छ।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूमाथि थप कारबाहीका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।