`

किताबबाट महावीरले कमाए १८ करोड

काठमाडौं। प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले आफ्नो आत्मकथामा आधारित पुस्तक बिक्रीबाट हालसम्म १८ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको जानकारी दिएका छन्।

म्याग्दी क्षेत्रबाट निर्वाचित पुनले बुधबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा ‘महावीर पुन’ नामक आत्मकथात्मक पुस्तकको २ लाख ५० हजार प्रती बेचिइसकेको उल्लेख छ।

उक्त विवरणअनुसार ७ सय ५० रुपैयाँ मूल्य तोकिएको पुस्तकको बिक्रीबाट कुल १८ करोड ७५ लाख रुपैयाँ आम्दानी भएको पुष्टि गरिएको छ।

लगनखेल पुर्‍याइयो मत्स्येन्द्रनाथको रथ(तस्बिरहरु)

ललितपुर। ललितपुरमा जारी रातो मत्स्येन्द्रनाथ रथयात्रा अन्तर्गत रथलाई मंगलबार तानेर लगनखेल पुर्‍याइएको छ। शहरका विभिन्न भाग परिक्रमा गराउँदै रथलाई लगनखेल ल्याइएको हो।

रथयात्राको महत्त्वपूर्ण चरण मानिने ‘रथ पूजा’ का लागि लगनखेल क्षेत्रमा बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको थियो। रथमा पूजाअर्चना गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण उपत्यकाका विभिन्न स्थानबाट सर्वसाधारण यहाँ जम्मा भएका थिए।

रातो मत्स्येन्द्रनाथ लाई वर्षा र सहकालका देवताका रूपमा पुजिन्छ। काठमाडौं उपत्यकाको सांस्कृतिक जीवनमा यस रथयात्राको विशेष स्थान रहेको छ।

किंवदन्तीअनुसार परापूर्वकालमा काठमाडौं उपत्यका मा भीषण खडेरी परेपछि भक्तपुरका राजा नरेन्द्रदेव र कान्तिपुरका तान्त्रिक वन्धुदत्त ले भारतको कामरूप कामाख्या बाट मत्स्येन्द्रनाथलाई ल्याएका थिए। उनको आगमनपछि उपत्यकामा वर्षा भएको र खडेरी हटेको विश्वास गरिन्छ। त्यसैले यो रथयात्रालाई वर्षा र सहकालको पर्वका रूपमा मनाइन्छ।

लगनखेलमा हुने रथ पूजाको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व पनि विशेष छ। यहाँ रथ पुगेपछि गरिने पूजा तथा चार नारायण मन्दिर सँग जोडिएको परम्पराले प्राचीन धार्मिक आस्था र सांस्कृतिक निरन्तरतालाई झल्काउँछ।

यो उत्सव धार्मिक आस्थामा मात्र सीमित नभई ललितपुरवासीहरूका लागि सामाजिक एकताको प्रतीकका रूपमा समेत स्थापित भएको छ।

यसअघि सोमबार राति लगनखेलमा रथसँग सम्बन्धित परम्पराअनुसार राँगा, बोका तथा हाँसको अण्डाको बलीसमेत दिइएको थियो।

एस अभिनित टक्सिकको रिलीज डेट सर्यो

काठमाडौं। दक्षिण भारतीय सुपरस्टार यशको मुख्य भूमिका रहेको फिल्म ‘टक्सिकः ए फेयरी टेल फर ग्रोन–अप्स’ को प्रदर्शन मिति फेरि स्थगित गरिएको छ।

निर्माण कम्पनी केभीएन प्रोडक्सन र मोन्स्टर माइन्ड क्रिएशन्सले बुधबार सार्वजनिक जानकारी जारी गर्दै फिल्मको रिलिज तालिका परिवर्तन गरिएको घोषणा गरेका हुन्। पहिलेदेखि जुन ४, २०२६ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने तयारी भए पनि अब फिल्म नयाँ मितिमा रिलिज हुने भएको छ। नयाँ मिति यथाशीघ्र सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।

निर्माताहरूका अनुसार हालै सिनेमाकनमा फिल्म प्रस्तुतीकरणपछि अन्तर्राष्ट्रिय वितरक तथा उद्योग क्षेत्रबाट निकै सकारात्मक प्रतिक्रिया प्राप्त भयो। यही उत्साहजनक प्रतिक्रियाका कारण फिल्मलाई अझ ठूलो अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने अवसर खुलेको बताउँदै रिलिज रणनीति पुनर्गठन गरिएको हो।

फिल्मको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको छ। हाल विश्वव्यापी वितरण अधिकार तथा अन्तर्राष्ट्रिय साझेदारीहरू टुंग्याउने अन्तिम प्रक्रिया चलिरहेको निर्माण कम्पनीले स्पष्ट पारेको छ।

अभिनेता यशले जारी गरेको वक्तव्यमा भनेका छन्, ‘कतिपय फिल्म हामी निर्माण गर्छौं, तर केही फिल्मले किन हामी सिनेमाप्रति प्रेम गर्छौं भन्ने कुरा फेरि सम्झाइदिन्छन्। ‘टक्सिक’ मेरो लागि त्यही यात्राको हिस्सा बनेको छ। सिनेमाकनमा फिल्म प्रस्तुत गर्दा प्राप्त विश्वव्यापी प्रतिक्रियाले हाम्रो विश्वास अझ मजबुत बनायो।’

उनले थपे, ‘भारतीय सिनेमा विश्वमञ्चमा द्रुतगतिमा अगाडि बढिरहेको यस अवस्थामा हामी सबैको जिम्मेवारी यसको स्तरलाई थप उचाइमा पुर्‍याउनु हो। अभिनेता र निर्माता दुवै भूमिकामा म यो अवसरलाई भारतीय फिल्म उद्योगका लागि गर्वको क्षण बनाउने प्रतिबद्धता रूपमा लिएको छु।’

ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य

 

काठमाण्डु। आईसीसी विश्वकप लिग-२ अन्तर्गत आजको खेलमा ओमानले नेपाललाई ३०६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभर पूरा गर्दै ८ विकेटको क्षतिमा ३०५ रन जोड्यो।

ओमानका लागि जतिन्द्र सिंह उत्कृष्ट प्रदर्शन गर्दै ९६ बलमा १३० रनको शानदार शतकीय इनिङ खेले। त्यस्तै आशिष ओडेपराले २३ रन, हम्मद मिर्जाले ३० रन, आर्यन विष्टले ३५ रन, जितेनकुमार रामानन्दीले ४३ रन र विनायक शुक्लाले २३ रनको योगदान दिए।

बलिङतर्फ नेपालका सोमपाल कामी सर्वाधिक सफल रहे, उनले ४ विकेट लिए। सन्दिप लामिछाने र दिपेन्द्र ऐरीले समान २–२ विकेट हात पारे।

महावीर पुनसँग कति छ सम्पत्ति ?(भिडियो)

काठमाडौं ।  प्रतिनिधि सभा सदस्य महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

उनले आफूसँग करिब तीन तोला सुन र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ७ माझठानामा चार ठाउँमा करिब २८ रोपनी जग्गा रहेको जनाएका छन् ।

सो जग्गा जम्मा २०५२ सालमा जम्मा ४ लाख जतिमा पदम पुनसँग मिलेर किनेको उनले उल्लेख गरेका छन् । जग्गा प्राप्तिको स्रोतमा उनले स्वआर्जन ९अमेरिकाबाट फर्किंदा बचेको पैसा० उल्लेख गरेका छन् । सो जग्गा राष्ट्रिय आविष्कार केन्द्र सन्चालनका लागि बिक्रीमा राखेको तर अझै नबिकेको उनको भनाइ छ ।

करिब तीन तोला सुन २०६० सालतिर किनेको पुनले लेखेका छन् । तर प्राप्तिको स्रोतमा भने श्रीमतीलाई इष्टमित्रहरुले ‘उपहार दिएको’ जनाएका छन् ।

यसैगरी नेपाल बैंक लिमिटेडमा ४ लाख रुपैयाँ जति र राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रुपैयाँ जति नगद मौज्दात रहेको विवरण पुनले सार्वजनिक गरेका छन् । नेपाल बैंक लिमिटेडकमा रहेको ४ लाख रकम साथीहरुबाट व्यक्तिगत खर्चका लागि प्राप्त भएको पुनले विवरणमा लेखेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकमा रहेको २५ लाख रकम भने प्रतिनिधि सभा निर्वाचन लड्दा सहयोगीहरुले दिएको चन्दाबाट बचेको उनले उल्लेख गरेका छन् । यो रकम आफू निर्वाचित भएको म्याग्दी सदरमुकाम बेनीमा रहेको सम्पर्क कार्यालय सन्चालनमा खर्च गर्ने उनले जनाएका छन् ।

यसबाहेक आत्मकथा पुस्तक हालसम्म २ लाख ५० हजार जति बेचेको र त्यसबाट प्राप्त सम्पूर्ण रकम राष्ट्रिय आविष्कार केन्द्र तथा वीरगञ्ज कृषि औजार कारखा सन्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रको नाममा नेपाल बैंक लिमिटेडमा जम्मा गरेको उनले जनाएका छन् ।

सांसद पुनले यीबाहेक आफूसँग ऋण, सवारी साधन, कृषि तथा पशुधन लगायत अन्य सम्पत्ति केही नभएको जनाएका छन् ।

अध्यादेश ल्याउने सरकारी निर्णयका विरुद्दमा विपक्षीहरु एकै कित्तामा

काठमाडौं । सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्ययादेश ल्याएपछि विपक्षी दलहरूको संसदीय दलको बैठक आज बस्दैछ ।

प्रमुख विपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाएका छन् । 

बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेतालाई बोलाइएको छ । 

बैठकमा अध्यादेश ल्याउने सरकारको कदम र प्रमुख विपक्षीसँगै अन्य विपक्षी दलहरूको चाल्ने आगामी कदमबारे छलफल हुने छ ।

सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको खुलेको थियो ।

सरकारले फेरि बढायो गाडी भाडा(भिडियो)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ। यातायात व्यवस्था विभागले आज जारी गरेको सूचनामा यात्रुवाहक तथा मालवाहक सवारी साधनहरूको भाडा समायोजन गरिएको जानकारी दिएको छ।

विभागका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १२ गते प्राप्त सैद्धान्तिक सहमतिअनुसार दुवै प्रकारका सवारी साधनमा ५ प्रतिशतले भाडा बढाइएको हो।

नयाँ दरसूचक सबैमा लागू हुने भए पनि विद्युतीय सवारी साधनमा भने भाडा वृद्धि नलागु हुने जनाएको छ। यसअघि चैत २५ गते पनि सार्वजनिक यातायातको भाडा समायोजन गरिएको थियो।

राष्ट्र बैंकले ४० अर्ब निक्षेप तान्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न बुधबार ४० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत तान्ने निर्णय गरेको छ। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन हुने बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार ४९ दिनका लागि सञ्चालन हुने यस बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँबाट बोल गर्न सकिनेछ। अधिकतम रकम पाँच करोडले भाग जाँदा आउने निःशेष भागसम्म सीमित रहने छ। सहभागी संस्थाले निक्षेप राख्न चाहेको कुल रकम र प्रस्तावित ब्याजदर (दशमलब पछाडि चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ।

यस निक्षेपको सावाँ तथा ब्याज भुक्तानी असार ३ गते हुने व्यवस्था छ। ब्याजदर पनि बोलकबोलकै आधारमा निर्धारण हुनेछ।

निक्षेप संकलनका लागि गरिने बोलकबोल ब्याजदरमै आधारित हुनेछ र बहुब्याजदरमा बहुबोलकबोल गर्न सकिनेछ। यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई मात्र सहभागी हुन अनुमति दिइएको छ।

हर्कले मागे बालेनको राजीनामा

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गरेका छन्। सुकुमबासी बस्तीमा डोजर चलाइएको घटनाप्रति तीव्र आपत्ति जनाउँदै उनले शाहले न्यूनतम मानवता समेत नदेखाएको आरोप लगाएका छन्।

फेसबुकमार्फत प्रतिक्रिया दिँदै साम्पाङले लेखेका छन्, “बालेनले तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ। न्यूनतम मानवता पनि प्रकट भएन। संयुक्त राष्ट्रसंघसमेतको ध्यानाकर्षण र विरोध आइसकेछ! यसभन्दा ठूलो राष्ट्रिय बेइज्जती अर्को हुनै सक्दैन।”

सुकुमबासी बस्तीमा गरिएको सरकारी कारबाहीको उनले लगातार विरोध गर्दै आएका छन्।

अध्यादेशको विरोध पछि सांसदसँग छलफलमा जुट्यो रास्वपा

काठमाडौं । अध्यादेशसम्बन्धी बढ्दो विरोधपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूसँग आन्तरिक छलफल गर्ने तयारी गरेको छ।

सरकारले मंगलबार दुईवटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। संसदलाई छलेर अध्यादेश अघि बढाएको भन्दै सरकार व्यापक आलोचनाको लक्ष्य बनेपछि रास्वपाभित्र पनि यसबारे गम्भीर समीक्षा आवश्यक भएको बताइएको छ। यही विषयमा विचार विमर्श गर्न पार्टीले सांसदहरूसँग अनौपचारिक छलफल आयोजना गर्ने भएको हो।

छलफल सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजना गरिएको छ। उपत्यकामा रहेका सांसदहरुलाई बैठकमा उपस्थित हुन आग्रह गरिएको पार्टी स्रोतले जनाएको छ।

 

 

३ हजारले घट्यो सुनको मूल्य

काठमाडौं । दुई दिनमा सुनको मूल्य प्रतितोला ६ हजार रुपैयाँले घटेको छ। अघिल्लो दिन ३ हजार रुपैयाँले ओरालो लागेको सुन आज फेरि अतिरिक्त ३ हजार रुपैयाँले सस्तिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि तोकिएको सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ छ।

यसअघि सोमबार सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार मूल्य झरेर २ लाख ९७ हजार ५ सय रुपैयाँमा पुगेको थियो। गत बुधबार पनि सुनको मूल्य ३ लाख ५ सय रुपैयाँकै आसपास स्थिर रहेको थियो। उल्लेखनीय रुपमा, माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँको रेकर्डमा पुगेको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रुपैयाँले मूल्य घटेर आज चाँदी ४ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा थियो, जबकि गत बुधबार प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो।

रास्वपालाई सुहाङको प्रश्न : ‘बहुमत हुँदाहुँदै अध्यादेश कुन बाध्यता परेर ल्याइदैछ ?'(भिडियो)

काठमाडौँ । नेकपा एमालेका युवा नेता तथा प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङले स्पष्ट बहुमत पाएको अवस्थामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अध्यादेशको सहारा लिनु परेको विषयमा खुलस्त बोल्नु आवश्यक रहेको बताएका छन्। उनका अनुसार जनताले संविधानसम्मत प्रक्रियामार्फत नयाँ कानून बनाउन तथा पुराना कानूनी प्रावधानलाई परिमार्जन वा खारेज गर्न पूर्ण जनादेश दिएर बहुमत निर्वाचन जिताइदिएको पार्टीले अध्यादेशमार्फत शासन चलाउन खोज्नु स्वयंमा विडम्बनापूर्ण छ।

समाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा नेम्बाङले प्रतिनिधि सभा जनप्रतिनिधिहरुको सर्वोच्च संस्था रहेको समयमा संसदलाई छलेर अध्यादेश ल्याउने कदम लोकतान्त्रिक मूल्य मान्यता, संसदीय अभ्यास र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत रहेको टिप्पणी गरेका छन्। उनले स्पष्ट रूपमा भने, ‘यो संविधानवादको सिद्धान्तविपरीत मात्र होइन, प्रकारान्तरले संसद् जनताको विश्वासको सर्वोच्च संस्थामाथि अविश्वास प्रकट गर्नु हो। रास्वपा नेतृत्वले आफैँले गरेका पूर्व प्रतिबद्धता, मान्यता र अडानहरू फेरि एकपटक स्मरण गर्न आवश्यक छ।’

नेपालको संविधानको धारा ११४ ले ‘बाध्यात्मक अवस्था’ मा मात्र अध्यादेश जारी गर्न सकिने व्यवस्था गरेको प्रसंग उठाउँदै, नेम्बाङले स्पष्ट बहुमत भएको सक्रिय संसद् विद्यमान रहेकै अवस्थामा सरकारले कसरी यस्तो ‘बाध्यात्मक अवस्था’ देखेर अध्यादेशको बाटो रोज्यो भन्ने गम्भीर प्रश्न उठाएका छन्। उनका अनुसार, ‘यो कदम लोकतान्त्रिक मूल्य, संसदीय अभ्यास र संवैधानिक मर्यादाको पक्षमा उभिन जनताबाट मत प्राप्त गरेका सांसदहरूको प्रतिबद्धता र भावनाविपरीत जानेतुल्य छ।’

उनको भनाइ जस्ताको तस्तैः
प्रतिनिधिसभा जनप्रतिनिधिहरूको सर्वोच्च थलो हो। मुलुकका लागि आवश्यक नयाँ कानुन निर्माण, पुरानाको संशोधन वा खारेजी गर्ने मुख्य जिम्मेवारी यसकै हो। नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई स्पष्ट बहुमत दिएका छन् । अर्थात्, संविधानसम्मत ढङ्गले जनताको सर्वोच्च थलोमार्फत मुलुकका लागि आवश्यक नयाँ कानुन बनाउन र जनपक्षीय सुधारका लागि पुराना कानुन परिमार्जन वा खारेज गर्ने पूर्ण कार्यादेश रास्वपालाई प्राप्त छ ।

यसरी स्पष्ट बहुमत प्राप्त रास्वपा नेतृत्वको सरकारले संसद् छलेर अध्यादेशको कमजोर बाटो रोज्नु लोकतान्त्रिक मूल्य-मान्यता र संसदीय अभ्यासविपरीत शक्ति पृथकीकरणको सिद्धान्तलाई कमजोर बनाउने कदम मात्र होइन, यो संविधानवादको सिद्धान्तविपरीत पनि हो । प्रकारान्तरले यो जनताको विश्वासको सर्वोच्च थलो अर्थात् संसद्माथिको अविश्वास पनि हो। म रास्वपा नेतृत्वलाई आफ्ना पूर्व प्रतिबद्धता, मान्यता र अडानहरू एक पटक पुनः स्मरण गर्न अनुरोध गर्दछु ।

नेपालको संविधानको धारा ११४ अनुसार ‘बाध्यात्मक अवस्था’ मा मात्र अध्यादेश जारी गर्न सकिने व्यवस्था छ। म विनम्रताका साथ सोध्न चाहन्छु— नेपाली जनताले असाधारण विश्वास गरेर स्पष्ट बहुमत दिएको संसद् विद्यमान हुँदाहुँदै कस्तो ‘बाध्यात्मक अवस्था’ आएर वर्तमान सरकारले अध्यादेशको बाटो रोजेको हो ?  यो त लोकतान्त्रिक मूल्य, संसदीय अभ्यास र संवैधानिक मर्यादाको पक्षमा उभिने वाचा गरेर जनताबाट निर्वाचित माननीय सांसदज्यूहरूको प्रतिबद्धता र भावनाविपरीत पनि होइन र ?

शासन सञ्चालनमा सहजताका लागि भनिए पनि यसले अन्ततः सरकारलाई स्वेच्छाचारितातर्फ उन्मुख गराउने हो कि भन्ने प्रश्न र संशय स्वाभाविक रूपमा उठेको छ । संसद्लाई छलेर अध्यादेशलाई ‘नियमित विकल्प’ का रूपमा प्रयोग गरी लोकतान्त्रिक मूल्य, संसदीय अभ्यास र संवैधानिक मर्यादालाई कमजोर नबनाउन अपिल गर्दछु । यस प्रकारका कदमहरूमाथि पुनर्विचार गरी फिर्ता लिनु नै लोकतान्त्रिक मूल्य, मान्यता र संविधानवादको सिद्धान्तप्रतिको वास्तविक सम्मान हुनेतर्फ ध्यानाकर्षण गराउँदछु ।

लोकतन्त्रको वास्तविक सार केवल बहुमत प्राप्त गर्नुमा मात्र होइन, प्राप्त बहुमतलाई संविधान, विधि र जनहितको मर्यादाभित्र रहेर कसरी सदुपयोग गरिन्छ भन्ने कुरामा निहित हुन्छ । बहुमत केवल शक्ति आर्जन गर्ने माध्यम हो, तर यसको वैधता केवल संविधानको रक्षा, विधिको शासन र नागरिकको हितमा मात्र सुरक्षित रहन्छ ।

 

राप्रपाका प्रदेश सांसदहरूको सामूहिक राजीनामा औपचारिकतामै सीमित, भएन कार्यान्वयन

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा ‘वैधानिक’ निर्णयहरू कार्यान्वयन हुन छाडेको छ ।

जेन–जी विद्रोहसँगै राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभाबाट सामूहिक राजीनामा दिएको घोषणा गरेको थियो । उक्त वैधानिक निर्णय हालसम्म कार्यान्वयन भएको छैन । पार्टी स्रोतका अनुसार, कार्यान्वयन हुने अब कुनै गुञ्जाइस छैन ।

जेन–जी विद्रोह उत्कर्षमा पुगेको बेला राप्रपाले ‘संविधान र संसदको औचित्य समाप्त भइसकेको’ भन्दै दुबै सदनबाट राजीनामा गरेको निर्णय सार्वजनिक गरेको थियो ।

प्रतिनिधिसभा विघठन भएकोले संघीय संसदमा राजीनामा दिन आवश्यक भएन तर प्रदेशसभामातर्फ भने राप्रपाका सदस्यहरूले हालसम्म गरेका छैनन् ।

‘सामूहिक राजीनामाको वैधानिक निर्णय प्रदेशसभामा कार्यान्वयन गरिएन मात्र होइन, पार्टी केन्द्रले प्रदेश सांसदहरूबाट मासिक दश हजार लेबी रकम बुझिरहेको छ । पार्टीको आधिकारिक निर्णय केन्द्रीय नेतृत्वले नै घाममा सुकाइदिएको छ,’ पार्टी स्रोतले बतायो ।

जबकि प्रवक्ता मोहन श्रेष्ठले भदौ २४ गते जारी गरेको प्रेस विज्ञप्तिमा राप्रपाले भनेको थियो, ‘देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद् र संविधानको औचित्य समाप्त भइसकेको छ । यस सन्दर्भमा राप्रपाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूले सामूहिक राजीनामा दिई संसद्बाट बाहिरिने निर्णय गरेको छ ।’

राप्रपाको समग्र परिस्थिति मूलाङ्कन गर्दै नेता सुरेश आचार्यले भने, ‘विगत तीन वर्षदेखि राप्रपामा विधानबमोजिम कुनै काम नभएकोले पार्टीमा विश्रृंखलता, विसंगति बढेर विभाजन उन्मुख भएको छ । यसले गर्दा, राप्रपामा पूरै संरचनागत सुधारको आवश्यकता छ । अब सुधार गर्ने कि नगर्ने ? सच्चिने कि सक्किने ? भन्ने गम्भीर प्रश्न राप्रपासामु छ ।’

चुनावपूर्व बसेको केन्द्रीय कार्यसमितिले जेठभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, बिना कुनै संस्थागत निर्णय पार्टी संस्थापनले जिल्ला जिल्लामा अधिवेशन रोकेर राखेको संस्थापन इतरका एक नेताले भने ।

महामन्त्री डा. धवलशम्सेर राणाले केन्द्रीय समितिको निर्णयबमोजि जेठभित्र महाधिवेशन गर्ने गरी मिति घोषणा गर्न अध्यक्ष राजेन्द्र लिङदेनसँग माग गरेका छन् । लिङ्देनले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । प्रदेश तहका समीक्षा बैठकहरूमा उनी व्यस्त छन् ।

महाधिवेशन प्रतिनिधि प्रेम देसारको भनाइमा प्रदेशस्तरीय समीक्षा गर्ने भन्ने पार्टीको कुनै आधिकारिक निर्णय छैन ।

उनी भन्छन्, ‘हालसम्म समीक्षा गरिएका प्रदेशहरूमध्ये गत निर्वाचनमा मधेसमा राप्रपाका १०० प्रतिशत उम्मेदवार पराजित भए, १०० प्रतिशतको जमानत जफथ भयो । कोशी प्रदेशमा १०० प्रतिशत उम्मेदवार पराजित भए, ९६.४ प्रतिशतको जमानत जफथ भयो ।

देसारको भनाइमा गण्डकीमा राप्रपाका १०० प्रतिशत उम्मेदवार पराजित भए, १०० प्रतिशतको जमानत जफथ भयो । लुम्बिनीमा १०० प्रतिशत उम्मेदवार पराजित भए, १०० प्रतिशतको जमानत जफथ भयो ।

यसैगरी मंगलबार समीक्षा गरिएको बागमती प्रदेशमा १०० प्रतिशत उम्मेदवार पराजित भए, ९७ प्रतिशतको जमानत जफथ भयो ।

प्रवक्ता श्रेष्ठले यसअघि वैशाख १६ गते कार्यसम्पादन समितिको बैठक बस्ने सूचना जारी गरेका थिए । बैैठक हाललाई स्थगन गरिएको छ । बैठकको अर्को मिति तोकिएको छैन ।

बैठकमा मध्यावधि निर्वाचन, महाधिवेशन र अनुशासनसम्बन्धी कारबाहीका विषय छलफल हुने अपेक्षा छ ।

तर, पार्टी नेताहरू कार्यसम्पादनको बैठक फेरि सर्न सक्ने आशंका गर्छन् । विधान, वैधानिक निर्णय पालना नहुने पार्टीमा जे पनि हुनसक्छ भन्ने माहोल अहिले राप्रपामा विकसित भएको छ ।

निर्वाचनअघि र पछिका दिनहरूमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यलगायतले राप्रपा परित्याग गर्ने क्रम जारी छ ।

जसमा उपाध्यक्ष रवीन्द्र मिश्र, निर्देशन समिति सदस्य ऋषिबाबु परियार, सहायक महामन्त्री सौरेन्द्र शाह, प्रदेश सांसद सुनिल केसी, केन्द्रीय सदस्यहरू हिक्मतजंग कार्की, किशोर कार्की, सीता बस्याल, रविकिरण हमाल, गोपीकृष्ण चौलागाई, युवराज घिमिरे र दीपकप्रसाद उप्रेतीले पार्टी छाडेका छन् ।

पार्टीमा प्रभावशाली मानिने नेताहरू विश्वराज पौडेल, प्रकाश रजौरिया, रञ्जु प्याकुरेल, श्रीजन घिमिरे, अजय कुमार गुप्ता, मोहन दाहाल, कोशी प्रदेशको राप्रपा प्रवक्ता विजय राउत आदि छन् ।

सरकारले अध्यादेश ल्याएपछि कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले बोलाए विपक्षी दलहरुको बैठक

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेद्वारा बीपीसहित अग्रणी नेताहरूकाे शालिकमा माल्यार्पण

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुन्दरीजल पुगेर कांग्रेसका संस्थापक नेता बी‍.पी. काेइरालासहित प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेताहरूकाे शालिकमा माल्यार्पण गरेका छन् । नेताहरूकाे याेगदानकाे स्मरण गर्दै उनले शीर निहुर्‍याए ।

मंगलबार दिउँसाे सङ्ग्रहालय पुगेका आङ्देम्बेले प्रजातन्त्र स्थापनाका लागि संघर्ष गरेका नेता बीपीसँगै गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, आफ्ना माइला ठूलाे बुबा प्रेमराज आङ्देम्बे, योगेन्द्रमान शेरचन, रामनारायण मिश्र र देवानसिंह राईलगायतप्रति पनि श्रद्धाञ्जली व्यक्त गरे ।

सङ्ग्रहालय परिसरमा रहेको स्मारक तथा शालिकहरूमा पुष्पगुच्छा अर्पण गर्दै उनले ती नेताहरूले देखाएको त्याग, बलिदान र लोकतान्त्रिक मूल्यको मार्गदर्शनलाई आजको पुस्ताले आत्मसात गर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार, नेपालको प्रजातान्त्रिक आन्दोलन र कांग्रेसको इतिहास ती नेताहरूको संघर्षबिना अधुरो हुने थियो।

त्यस अवसरमा आङ्देम्बेले सुन्दरीजल कारागारको ऐतिहासिक महत्वबारे समेत जानकारी लिए ।

उनले तत्कालीन निरङ्‍कुश शासनका बेला नेताहरूलाई बन्दी बनाइ राखिएको कोठाहरू, उनीहरूले प्रयोग गरेका सामग्री तथा सङ्ग्रहालयमा सुरक्षित ऐतिहासिक दस्तावेजहरूको अवलोकन गरे ।

ती कोठा र सामग्रीहरू अवलोकन गर्दा उनी गम्भीर र भावुक मुद्रामा देखिए।

नेताहरूले जेल जीवनका क्रममा भोगेका कठिनाइ, उनीहरूको अदम्य साहस र लोकतन्त्रप्रतिको प्रतिबद्धताले आजको राजनीतिक यात्रालाई प्रेरणा दिने आङ्देम्बेको भनाइ थियो। त्यस अवसरमा नेता आङ्देम्बेले वृक्षाराेपणसमेत गरेका थिए ।

संसदबाटै अध्यादेश ल्याउन सरकारलाई ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौँ ।  बालेन सरकारले दुई वटा अध्यादेश ल्याएपछि राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले चर्को विरोध गरेका छन् । उनले प्रधानमन्त्री बालेनलाई नै यस्तो कदमले अप्ठ्यारो पार्ने चेतावनी दिएका छन् । 

अध्यादेशमार्फत् शासन गर्ने प्रवृत्ति बन्द गर्न प्रधानमन्त्री बालेनलाई सचेत गराउँदै सांसद शाहीले आग्रह गरेका छन्, ‘संसद्बाटै विधेयक ल्याउन हार्दिक अपिल गर्दछु ।’

उनले बोलाइएको संसद् रोकेर अध्यादेशमार्फत् विधेयक ल्याएर सरकार सञ्चालन गर्नु प्रजातान्त्रिक र संसदीय अभ्यासविपरीत हुने बताएका छन् । 

रास्वपाको दुई तिहाइ नजिकको बहुमत हुनाले हरेक विधेयक सहजै पारित हुने सम्भावना औँल्याउँदै शाहीले प्रधानमन्त्री बालेनले दुई अध्यादेश ल्याउनु पटक्कै राम्रो नभएको बताएका छन् । सरकारले सहकारी र संवैधानिक परिषद्सम्बन्धी अध्यायदेश ल्याएको छ । यसप्रति चर्को विारधे भइरहेको छ ।

अध्यादेश ल्याउने सरकारको तयारीमा खुस्बु ओलीले जनाइन् विरोध

काठमाडौँ। दुई तिहाईको शक्तिशाली बालेन सरकारले संसद् छलेर अध्यादेश ल्याएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले कडा शब्दमा विरोध गरेकी छन् ।

संसद् हुँदाहुँदै बालेन सरकारले अध्यादेश ल्याउँदा निकै आक्रोशित बनेकी उनले भनेकी छन्, ‘संसद हुँदाहुँदै अध्ययादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो।’

उनले बालेन सरकारलाई संसद् छलेर अध्ययादेशको बाटो रोज्नुपर्ने कारण के हो भन्दै सोधेकी छन ।

संसद् निष्क्रिय पारेर अध्यादेश ल्याउन सक्रिय बालेन सरकारको विरोध गर्दै उनले बालेन सरकार ठीक बाटोमा नहिँडेको बताएकी छन् ।

यसअघि राष्ट्रपतिबाट आह्वान भइसकेको संसद् बैठक बालेन सरकारले स्थगित गरेको थियो । संसद् स्थगन गरेर अध्यादेशबाट शासन चलाउन खोज्ने बालेन सरकारको नियत सफा नभएको भन्दै चौतर्फी विरोध भएको छ । बालेन सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश ल्याउने निर्णय सोमबार नै गरिसकेको छ ।

रविको ४ वर्ष अगाडिको स्टाटस चर्चामा, के लेखेका थिए?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सन् २०२२ मा लेखेको एउटा फेसबुक स्टाटस अहिले व्यापक रूपमा भाइरल भइरहेको छ । सरकारले संसदको अधिवेशन स्थगित गर्दै दुईवटा अध्यादेश ल्याउन सिफारिस गरेपछि सामाजिक सञ्जालमा पुरानो राजनीतिक टिप्पणी पुनः चर्चामा आएको हो । 

चार वर्षअघि लामिछानेले तत्कालीन सरकारले अध्यादेश ल्याएको कदमप्रति कडा प्रतिक्रिया दिएका  थिए। त्यतिबेला उनले संसद बैठक अविलम्ब बोलाउनुपर्ने मागसहित अध्यादेशको कदमले जनादेश र संसदको अधिकार मिच्ने प्रयास भएको टिप्पणी गरेका थिए । तत्कालीन परिस्थितिलाई ‘राजनीतिक निर्लज्जताको पराकाष्ठा’ सम्म भनेका लामिछानेले अध्यादेश तत्काल फिर्ता गर्न आग्रह गरेका थिए।

तर अहिले सरकार स्वयं संघीय संसदको चालु अधिवेशन स्थगित गरेर संवैधानिक परिषद् तथा सहकारीसम्बन्धी दुई अध्यादेश ल्याउने तयारीमा रहेको छ। राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषद्को सोमबारको बैठकले दुवै अध्यादेश पारित गरी सिफारिस पठाइसकेको छ। 

यसअघि वैशाख ८ गते बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गतेका लागि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो। तर निर्णय भएको भोलिपल्ट सरकारले स्वयं उक्त सिफारिस फिर्ता लियो। सरकारले अध्यादेश ल्याउनैकै लागि बोलाइसकेको अधिवेशन स्थगित गरेको यसबाट प्रष्ट हुन्छ ।

यस्तो परिस्थितिमा लामिछानेले चार वर्षअघि लेखेको स्टाटस पुनः चर्चाको केन्द्रमा छ। सो स्टाटसमा उनले संसद बैठक बोलाउन १-२ हप्ता कुर्न नसक्ने निर्णय किन गरियो भन्ने प्रश्न उठाएका थिए।

४ वर्षअघि उनले लेखेका छन् , ‘अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला? १ हप्ता? २ हप्ता ? ३ हप्ता ?त्यस्तो के आपत्काल लागेको थियो र १-२ हप्तापनि कुर्न नसकिने?यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ,नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ। यो कदम  राजनीतिक निर्लज्जताको पराकाष्ठा हो।यो तत्काल फिर्ता हुनपर्छ।’ 

सामाजिक सञ्जालमा धेरैले यो पुरानो टिप्पणीलाई अहिलेको राजनीतिक घटनाक्रमसँग तुलना गरिरहेका छन्। 

तपाईंको व्हाट्सएप ह्याक भएको छ ? यसरी रिकभर गर्नुहोस्

काठमाडौं । व्हाट्सएप आज विश्वभर सबैभन्दा प्रयोग हुने म्यासेजिङ प्लेटफर्म हो । यही कारणले यसलाई ह्याकर र स्क्यामरहरूले बारम्बार निशाना बनाउने गरेका छन् । अकाउन्ट ह्याक भएमा अनधिकृत म्यासेज जान सक्छ, व्यक्तिगत गोपनीयता भंग हुन सक्छ, पहिचानको दुरुपयोग हुन सक्छ र कहिले काहीँ आर्थिक ठगी समेत हुन सक्छ ।

व्हाट्सएप खाता ह्याक भएको अवस्थामा प्रयोगकर्ताले तुरुन्तै एप पुनः इन्स्टल गरी आफ्नो फोन नम्बर प्रयोग गरेर लगइन गर्नुपर्छ। यसले अनधिकृत प्रयोगकर्तालाई स्वतः प्रणालीबाट बाहिर निकाल्नेछ। लगइन गर्दा आउने ६ अङ्कको भेरिफिकेशन कोड कुनै पनि व्यक्तिसँग साझा गर्नु हुँदैन।

यदि टु स्टेप भेरिफिकेसन सक्रिय छ भने पिन मागिनेछ। यस्तो अवस्थामा रिकभरी इमेल प्रयोग गरी फर्गट पिन विकल्पबाट पासवर्ड रिसेट गर्न सकिन्छ। कतिपय अवस्थामा सुरक्षा प्रक्रिया अनुसार सात दिनसम्म कुर्नुपर्ने पनि हुन सक्छ।

सिम स्वापको शंका भएमा तुरुन्तै सम्बन्धित मोबाइल सेवा प्रदायकसँग सम्पर्क गर्न आवश्यक हुन्छ।

खाता पुनः प्राप्त भएपछि लिंक डिभाइस सेक्शन जाँच गरी अज्ञात वा अनधिकृत डिभाइसहरू हटाउनुपर्छ। साथै शंकास्पद प्रयोगकर्तालाई ब्लक गर्न र आफ्ना सम्पर्कहरूलाई जानकारी दिन सिफारिस गरिन्छ।

सुरक्षाका लागि टू स्टेप भेरिफिकेसन अनिवार्य रूपमा सक्रिय गर्नुपर्ने तथा फोनमा मालवेयर स्क्यान गर्नुपर्ने सुझाव दिइन्छ। व्हाट्सएपले खाताको विस्तृत पहुँच विवरण नदिए पनि प्रयोगकर्ताका च्याटहरू सुरक्षित रहने जनाएको छ।

इरानका सर्वोच्च नेता मोज्तबा खामेनी जीवित छन् कि छैनन् ?

काठमाडौँ । इरानले नयाँ सर्वोच्च नेताका रूपमा मोज्तबा खामेनीको नाम घोषणा गरेको लामो समय भइसकेको छ। तर उनी अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन्। अमेरिकासँगको युद्धपछि एक–दुई पटक मात्र उनका लिखित वक्तव्य सार्वजनिक भएका थिए। त्यसयता उनको स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबरहरू पनि आएका छन्।

यसैबीच, इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्थालाई लिएर विश्वभर चासो बढिरहेको छ।

यस सन्दर्भमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानको नेतृत्वबारे टिप्पणी गर्दै शक्ति ‘कट्टरपन्थी सोच’ भएका व्यक्तिहरूको हातमा रहेको बताएका छन्। फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले भने, ‘धार्मिक विचारधारामा आधारित कट्टरपन्थीहरू केवल इस्लामिक रिभोल्युसनरी गार्ड कोरका अधिकारीहरू मात्र होइनन्, उनीहरू इरानको राजनीति र वरपरका सल्लाहकार निकायहरूमा पनि सक्रिय छन्।’

सोही अन्तर्वार्तामा उनलाई इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्थाबारे सोधिएको थियो। जवाफमा रुबियोले भने, ‘हामीसँग उनी जीवित रहेको संकेतहरू छन्, तर ठोस प्रमाण छैन। इरानले पनि उनी जीवित रहेको दाबी गर्दै आएको छ।’

पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीपछि नेतृत्व सम्हालेका मोज्तबा खामेनी सार्वजनिक रूपमा देखिएका छैनन्। उनका कुनै भिडियो वा अडियो सार्वजनिक नभई हालसम्म केवल लिखित सन्देशहरू मात्र मिडियामा आएका छन्।

के भारत भ्रमणमा जाँदैछन् बालेन्द्र ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणको तयारी तीव्र बनेको छ। नेपाल र भारत दुवै पक्षले भ्रमणलाई लक्षित गर्दै कूटनीतिक तयारी अघि बढाएका छन्।

यसै क्रममा भारतका विदेश सचिव विक्रम मिस्री वैशाख २८ गते नेपाल आउने भएका छन्। दुई दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा दिने कार्यक्रम रहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट निमन्त्रणापत्र हस्तान्तरण गर्ने तयारी गरिएको छ।

यसअघि नै प्रधानमन्त्री मोदीले बालेनलाई पदभार ग्रहण गरेबापत बधाई दिँदै भारत भ्रमणको निमन्त्रणा दिएका थिए। उक्त निमन्त्रणालाई प्रधानमन्त्री बालेनले स्वीकार गरेको परराष्ट्रमन्त्री शिशिर खनालले सार्वजनिक गरिसकेका छन्। मन्त्री खनालले भारतका विदेशमन्त्री एस. जयशंकरसँगको भेटपछि प्रधानमन्त्री बालेनको भारत भ्रमण हुने संकेत गरेका थिए।

त्यसैगरी भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले पनि प्रधानमन्त्री बालेनको भारत भ्रमण हुने पुष्टि गरेका थिए। अब औपचारिक प्रक्रियाका लागि भारतीय विदेश सचिव मिस्रीको नेपाल भ्रमण तय भएको हो।

मिस्रीले प्रधानमन्त्री बालेनसँग प्रत्यक्ष भेट गरी निमन्त्रणा दिने वा परराष्ट्र मन्त्रालयमार्फत हस्तान्तरण गर्ने भन्ने विषय अझै टुंगिन बाँकी छ। भ्रमणका क्रममा उनले परराष्ट्र सचिव अमृतबहादुर राई, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले लगायत केही उच्च पदस्थ अधिकारीसँग पनि भेट गर्ने कार्यक्रम छ।

दुई दिनको भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य र विभिन्न सम्झौताहरूको कार्यान्वयन प्रगति समीक्षा हुने बताइएको छ। त्यसका लागि परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाले तयारी अघि बढाइरहेको छ।

मिस्रीको भ्रमणपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाने तयारी रहेको छ। उनको भ्रमणको मिति मिस्रीको नेपाल भ्रमणपछि टुंगो लाग्ने स्रोतले जनाएको छ।

नेपालको लगातार तेस्रो जीत

काठमाडौं । आइसिसी महिला टी-२० च्यालेन्ज ट्रफी २०२६ मा नेपालले आफ्नो तेस्रो जित दर्ता गरेको छ। मंगलबार सम्पन्न खेलमा नेपालले घरेलु टोली रवाण्डालाई ३८ रनले पराजित गरेको हो।

किगालीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १०३ रन बनायो। जवाफमा रवाण्डा १७.४ ओभरमै ६५ रनमा अलआउट भयो।

नेपालका लागि कप्तान इन्दू बर्माले उत्कृष्ट प्रदर्शन गर्दै ४५ बलमा ४ चौकासहित नटआउट ३३ रन बनाइन्। कविता कुँवरले २४ रन, रूबिना क्षेत्रीले ११ रन जोडिन् भने अन्य ब्याटरहरू दोहोरो अंकमा पुग्न सकेनन्।

बलिङतर्फ रवाण्डाकी हेनरिटेले ३ विकेट लिइन् भने बिमेन्यिमानाले २ विकेट हात पारिन्। रवाण्डाका लागि कप्तान बिमेन्यमनाले सर्वाधिक १९ रन बनाए पनि अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि बलिङमा मनिषा उपाध्यायले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १० रन मात्र खर्चेर ३ विकेट लिइन् र १ मेडन ओभर पनि फ्याँकिन्। कविता कुँवर, रचना चौधरी र रिया शर्माले २-२ विकेट लिए।

यो प्रतियोगितामा नेपालले हालसम्म ६ खेलमा ३ जित दर्ता गरेको छ। नेपालले इटाली र रवाण्डाविरुद्धका खेलहरू जितेको हो भने अमेरिकासँग दुवै खेलमा पराजित भएको छ। भानुआटुसँग पनि नेपाल पराजित भएको थियो।

अब नेपालले इटाली र भानुआटुसँग थप खेल खेल्न बाँकी छ। हालको अंक तालिकामा नेपाल ६ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा रहेको छ।

शीर्ष स्थानमा अमेरिका ६ खेलबाट १० अंकसहित रहेको छ। रवाण्डा ७ खेलबाट ८ अंकसहित दोस्रो स्थानमा छ। इटाली ५ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ भने भानुआटु ६ खेलबाट २ अंकसहित पाँचौँ स्थानमा रहेको छ।

२६ अंकले घट्यो नेप्से

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २६.१६ अंकले घट्दै २,७७०.२६ बिन्दुमा पुगेको छ।

आज कुल ३४९ कम्पनीका १ करोड ४० लाख १३ हजार १६७ कित्ता सेयर १ लाख ५१ हजार २८६ पटक खरिदबिक्री भएका छन्। यस दिनको कुल कारोबार रकम रु ६ अर्ब ५२ करोड ८० लाख ७७ हजार ९७६ रहेको नेप्सेले जनाएको छ।

समूहगत सूचकमा अन्य समूह मात्रै ०.७३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहमा गिरावट आएको छ। बैंकिङ ०.८४, विकास बैंक १.२२, वित्त ०.६१, होटल तथा पर्यटन २.५६, जलविद्युत् १.७४, लगानी ०.४७ र जीवन बीमा समूह ०.१६ प्रतिशतले घटेका छन्।

त्यस्तै उत्पादन तथा प्रशोधन समूह २.४६, लघुवित्त ०.४४, म्युचुअल फन्ड ०.३१, निर्जीवन बीमा ०.३९ र व्यापार समूह ०.३९ प्रतिशतले ओरालो लागेको छ।

आजको कारोबारमा हिमालयन बैंक लिमिटेड बण्ड २०८६ को मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले घटेको छ।

चलचित्र ‘लाली बजार’को प्रदर्शन रोकिने

काठमाडौँ । उच्च अदालत पाटनले नेपाली चलचित्र ‘लाली बजार’को प्रदर्शन रोक्न आदेश दिएको छ। न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले मंगलबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै चलचित्र प्रदर्शन नगर्न निर्देशन दिएको हो।

चलचित्र ‘लाली बजार’ वैशाख १८ गते (शुक्रबार)देखि प्रदर्शनमा आउने तयारीमा थियो।

रोशनी नेपालीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत कारण देखाऊ आदेश जारी गरेको छ। साथै, वैशाख २२ गतेका लागि अर्को पेशी तोकिएकाले सो अवधिसम्म चलचित्र प्रदर्शनमा रोक लगाइएको छ।

यम थापाको निर्देशनमा बनेको उक्त चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे र आशा पौडेल लगायत कलाकारहरूको अभिनय रहेको छ।

सरकारले पठायो दुई अध्यादेश : अध्ययन गर्दै राष्ट्रपति

काठमाडौँ । सरकारले संसद्को चालु अधिवेशन स्थगित गरी दुई वटा अध्यादेश जारी गर्ने तयारी गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् सम्बन्धी र सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

राष्ट्रपतिका प्रेस सचिवालयका अनुसार सिफारिस गरिएका अध्यादेशहरूबारे राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययन गरिरहेका छन्।

यसअघि गत वैशाख ८ गतेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो, जसअनुसार राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि अधिवेशन बोलाएका थिए। तर पछि सरकारले विशेष कारण देखाउँदै उक्त प्रक्रिया रोकेको थियो।

संसद् सञ्चालनमै रहेको अवस्थामा अध्यादेश ल्याउन कानुनी तथा संवैधानिक जटिलता हुने भएकाले सरकारले संसद् छल्ने विकल्पस्वरूप अध्यादेशको बाटो रोजेको देखिएको छ।

 

संयुक्त विद्यार्थी आन्दोलनले त्रिभुवन विश्वविद्यालय परिसरमा गर्यो मार्चपास(तस्बिरहरु)

काठमाडौं ।  सरकारको विद्यार्थी संगठन खारेज गर्ने निर्णय अघि बढाएपछि संयुक्त विद्यार्थी संगठनले त्रिवि परिसरमा विरोधस्वरूप मार्चपास गरेको छन् । 

कीर्तिपुरस्थित त्रिवि गेटबाट सुरु भएको जुलुस विश्वविद्यालय क्षेत्रका विभिन्न भाग घुमाउँदै सम्पन्न गरिएको थियो। 

विरोधमा सहभागी विद्यार्थीहरूले ‘स्वर्णिम सरकार – महंगी भो उपहार’, ‘लागू औषध मुक्त समाज निर्माण गरौँ’, ‘We are students, not customers’, ‘मेरिटोक्रेसी लागू गर’ र ‘स्ववियु खारेज गर्ने निर्णय खारेज गर’ जस्ता नारा लगाउँदै विश्वविद्यालय प्रशासन र सरकारप्रति कडा असन्तोष प्रकट गरे। विद्यार्थी नेताहरूले संगठन खारेजीको निर्णयलाई गैर-लोकतान्त्रिक र विद्यार्थी अधिकारमाथिको प्रत्यक्ष प्रहार भन्दै तत्काल फिर्ता लिन आग्रह गरे। 

उनीहरूले विद्यार्थी संघसंस्थालाई निषेध गर्न खोज्नु शिक्षामा नियन्त्रण र एकाधिकार स्थापित गर्ने प्रयास भएको आरोप लगाउँदै माग पूरा नभए थप कडा आन्दोलनमा जाने चेतावनी पनि दिएका छन्।

रास्वपा सांसद खरेलद्वारा एनसेल-कोरिया विवादमा दिए स्पष्टीकरण(भिडियो)

काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा पूर्व सञ्चार मन्त्री जगदिश खरेलले आफू मन्त्री रहेको बेला एनसेलसँग साठगाँठ गरेको भन्दै विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति समेत आपत्ति जनाउँदै सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्। हालै यिनै विवादका कारण प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई सञ्चार मन्त्रालयको जिम्मेवारी नदिएको पनि दाबी गरिएको थियो।

खरेलले मंगलबार फेसबुकमा लेखिएको एक स्टाटसमार्फत आफूविरुद्ध प्रकाशित समाचार ‘अविश्वसनीय र अपरिपक्व रिपोर्टिङ’ भएको दाबी गरेका छन्। जनआस्था दैनिकमा आफ्नो बारेमा आएको समाचारको खण्डन गर्दै उनले तथ्यहीन दाबीहरूको पछि नलाग्न आग्रह गरेका छन्।

खरेलले पहिलो स्पष्टिकरण रातो पासपोर्टसम्बन्धी दिए। उनले भने, “म साधारण पासपोर्टमार्फत नै भिसा आवेदन दिएर सभामुखसँग बिदा माग्न गएको थिएँ। रातो पासपोर्ट मागेको भन्ने कुरा गलत हो।’

त्यसपछि उनले कोरिया भ्रमण र एनसेलसँग भेटघाट सम्बन्धी दाबीलाई पूर्णरूपमा अस्वीकार गरे। उनका अनुसार, ‘मन्त्री हुँदा ११औं ग्लोबल आईसीटी लिडरसिप फोरममा सहभागी हुन कोरिया गएको थिएँ, तर त्यहाँ एनसेलका सतिशलाल आचार्यसँग भेट भएको छैन। कोरियामै यस्तो भेट भएको भनेर फैलाइएको समाचार १०० प्रतिशत कपोलकल्पित हो।’

सत्यको खोजी गर्न मिडियालाई आग्रह गर्दै उनले लेखेका छन्, ‘तथ्य र प्रमाणसहितको पत्रकारिता हुनुपर्छ। कोही पनि भ्रममा नपरौं, सत्य ढिलोचाँडो बाहिरिन्छ।’

अन्त्यमा उनले सम्बद्ध सबैलाई चेतावनीजस्तै सन्देश दिँदै भनेका छन्, ‘चुप रहनु, सुन्नु र सहनु भनेको स्वीकार्नु होइन।’

५ जना पक्राउ

काठमाडौं । सुनको सिक्री लुटपाटमा संलग्न एक गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोटको ककनी नगरपालिका–३ का २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, विदुर नगरपालिका निवासी ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बुका १९ वर्षीय रितिका माझी रहेका छन्।

प्रहरीका अनुसार उक्त समूहले विभिन्न स्थानमा सिक्री थुत्ने घटनामा संलग्नता देखाएको छ। गत चैत १२ गते मातातीर्थस्थित फन पार्क नजिक हिँडिरहेकी एक महिलाको गलाबाट मोटरसाइकलमा आएका दुई जनाले सिक्री लुटेका थिए। त्यसैगरी चैत १९ गते नैकापमा ७० वर्षीया महिलाको सिक्री लुटिएको थियो भने वैशाख ६ गते चन्द्रागिरी क्षेत्रमा पनि यस्तै प्रकृतिको घटना भएको थियो।

यी सबै घटनामा संलग्न रहेको आशंकामा प्रहरीले उनीहरूलाई काठमाडौंको पैयुँटारबाट पक्राउ गरेको हो। पक्राउ गर्ने कार्य प्रहरी वृत्त थानकोटको टोलीले गरेको हो।

प्रहरीले उनीहरूको साथबाट १२.९० ग्राम सुनसहित ठूलो र सानो रेन्ची, खुकुरी र पेचकस समेत बरामद गरेको जनाएको छ। घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

‘क्लियोपेट्रा’ : पर्यायवाचीमा सुन्दरता, कामुकता र चातुर्यता

एक समय संसारका विभिन्न देशहरूको सत्ता त्यहाँका राजा-महाराजाहरूको हातमा हुन्थ्यो। शाही परिवारमा राजगद्दी सम्हाल्ने अवसर प्रायः ठूलो छोरा वा कहिलेकाहीँ ठूलो छोरीलाई प्राप्त हुन्थ्यो। तर केही राजाहरूको अकस्मात मृत्यु भएपछि उनका पत्नीहरूले पनि महारानीका रूपमा राज्य सम्हालेका थिए। एक समय एक यस्ती रानी पनि थिइन्, जसलाई आफ्नो प्रजा र राज्यभन्दा बढी आफ्नै चिन्ता थियो। 

भनिन्छ, ती रानी असाध्यै सुन्दरी थिइन्। उनी मोहिनी थिइन्। अत्यन्तै चलाख राजनीतिज्ञ थिइन्। उनीभित्रको कामुकताको आज पनि संसारभर चर्चा गरिन्छ। 

यो पनि मानिन्छ,उनले लैङ्गिकता र शक्ति दुवैलाई प्रयोग गरेर आफ्नो लक्ष्य पूरा गरेकी थिइन्। 

यस्ती सुन्दरी,चलाख राजनीतिज्ञ थिइन्,’क्लियोपेट्रा।’

क्लियोपेट्रा मिस्रको टालमी वंशकी यवन रानीहरूको सामान्य प्रचलित नाम हो। मूलतः यो नाम सिल्युक वंशी अन्तियोखस महानकी छोरी तथा टालमी पाँचौँकी पत्नीका लागि प्रयोग भएको थियो। तर यस नामको ख्याति टालमी एघारौँकी छोरी क्लियोपेट्रा सातौँका कारण बढी प्रसिद्ध भयो। उनको जन्म करिब ६९ ई.पू.मा भएको थियो। यसअघि यस वंशमा यस नामकी छ जना रानीहरू भइसकेका थिए। त्यसैले उनलाई क्लियोपेट्रा सातौँ भनिन्छ।

क्लियोपेट्रा रोमकी सबैभन्दा सुन्दर रानी मानिन्छिन्। उनि आफ्नो सुन्दरता र आकर्षक व्यक्तित्वका कारण उनी जो-कोहीलाई पनि आकर्षित गर्न सक्थिन्।

जब उनका पिता ५१ ई.पू.मा बिते, त्यतिबेला क्लियोपेट्रा १८ वर्षकी थिइन्। तर उनले परिवारभित्रको आन्तरिक कलहको सामना पनि त्यतिबेलै गर्नुपर्‍यो, किनकि शासन कसले गर्ने भन्ने विवादमा टालमी वंशका सन्तानहरू विभाजित भएका थिए।

त्यसैबीच उनले आफ्ना भाइ टालमी तेह्रौँसँग मिलेर संयुक्त रूपमा शासन गर्ने अवसर पाइन्। उनले मिश्रको परम्परा अनुसार विवाह पनि गरिन्। तर उनका भाइले एकल शासनको इच्छा राख्दै गए, जसले अन्ततः गृहयुद्धको रूप लियो।

त्यसपछि केही समयका लागि क्लियोपेट्रा रोमन नियन्त्रणमा रहेको सिरियातर्फ भागिन्। उनका पिताले आफ्नो शासनकालमा रोमसँग घनिष्ठ सम्बन्ध राखेका थिए, जुन सम्बन्ध उनका सन्तानसम्म पनि कायम थियो।

सिरिया पुगेपछि क्लियोपेट्राले तत्कालीन रोमन सेनापति तथा राजनीतिज्ञ जुलियस सिजरसँग सम्पर्क बढाइन्। त्यस समयमा सिजर पनि सम्पूर्ण रोममा एकछत्र शासन स्थापित गर्ने प्रयासमा थिए।

उनीहरूबीच उमेरमा करिब तीस वर्षको अन्तर थियो। दुवै पहिले नै विवाहित थिए। तर त्यसका बाबजुद पनि उनीहरूबीचको सम्बन्ध रोमान्टिक बन्यो। सिजरले क्लियोपेट्रालाई जुनसुकै परिस्थितिमा साथ दिने वाचा गरे।

४७ ई.पू.मा सिजरका सेनाबाट भाग्ने क्रममा क्लियोपेट्राका भाइ टालमी तेह्रौँ नाइल नदीमा डुबेर मरे। त्यसपछि सिजरको सहयोगमा क्लियोपेट्राले पुनः मिश्रको सत्ता प्राप्त गरिन् र आफ्ना १२ वर्षीय भाइ टालमी चौधौँसँग विवाह गरिन्। त्यसपछि उनले एक पुत्रलाई जन्म दिइन्, जसलाई सिजरको पुत्र मानिन्छ।  उनको नाम सिजेरियन राखिएको थियो।

तर उनीहरूको सम्बन्ध ४४ ई.पू. मार्च १५ मा सिजरको हत्या हुँदासम्म कायम रह्यो। त्यसबेला क्लियोपेट्रा रोममै थिइन्। उनले सिजेरियनलाई उत्तराधिकारीको मान्यता दिलाउन चाहन्थिन्। तर परिस्थिति बिग्रँदै गएपछि उनी फेरि अलेक्जान्द्रियातर्फ फर्किन्।

त्यसपछि रोमन सैन्य नेता मार्क एन्टोनीले उनलाई भेट्न बोलाए। एन्टोनी रोमका तीन प्रमुख शासकमध्ये एक थिए। उनी ४१ ई.पू.मा क्लियोपेट्रालाई भेट्न टार्सस (आधुनिक टर्की) पुगे। त्यहाँ क्लियोपेट्राले अत्यन्तै भव्य र प्रभावशाली रूपमा प्रस्तुत भइन्, जसले एन्टोनीलाई गहिरो रूपमा प्रभावित गर्‍यो। त्यसपछि उनीहरूबीच रोमान्टिक सम्बन्ध सुरु भयो।

पछि एन्टोनी क्लियोपेट्रा रहेको अलेक्जान्द्रियामा सरे। क्लियोपेट्राप्रति एन्टोनी यति मोहित भए कि उनले आफ्नो राजनीतिक विवेक नै गुमाए। तर यो कुरा रोममा असन्तोषको कारण बन्यो। रोमन जनताले यसलाई मिश्रको हस्तक्षेपका रूपमा लिए र एन्टोनीविरुद्ध युद्ध सुरु गरे।

ई.पू. ३१ मा भएको ‘एक्टियमको युद्ध’ पछि एन्टोनीको हार निश्चित जस्तै भयो। त्यसपछि उनले आत्महत्या गरे।

एन्टोनीको मृत्युपछि क्लियोपेट्राले रोमन नेता अक्टाभियनसँग वार्ता गर्ने प्रयास गरिन्। तर अक्टाभियनले उनलाई रोममा विजयी जुलुसमा प्रदर्शन गर्ने योजना बनाइरहेका थिए। यो कुरा थाहा पाएपछि क्लियोपेट्राले आफूलाई बचाउन आत्महत्या गरिन्।

यससँगै टालमी वंशको शासन समाप्त भयो।  मिश्र रोमन साम्राज्यको अधीनमा गयो।

क्लियोपेट्राले विषालु सर्प ‘एस्प’ को सहायताले आत्महत्या गरिन् भन्ने लोककथा प्रचलित छ, तर यसको ठोस ऐतिहासिक प्रमाण छैन। उनको समाधिस्थल पनि अहिलेसम्म फेला परेको छैन।

क्लियोपेट्राको जीवनका धेरै ऐतिहासिक प्रमाणहरू नष्ट भएका छन्, किनकि अलेक्जान्द्रियाको प्रसिद्ध पुस्तकालय पटक-पटक ध्वस्त भएको थियो। उनका बारेको मुख्य स्रोत रोमन लेखक प्लुटार्कको लेख हो, जुन उनको मृत्युपछि धेरै वर्षपछि लेखिएको थियो।

क्लियोपेट्रा अत्यन्त बुद्धिमान्, बहुभाषी र कूटनीतिक क्षमताले सम्पन्न महिला थिइन् भन्ने मानिन्छ। भनिन्छ, उनी धेरै भाषाहरू बोल्न सक्थिन् र विभिन्न देशका राजदूतहरूसँग उनीहरूको भाषामै कुरा गर्थिन्।

सबै ऐतिहासिक दस्तावेजहरूका आधारमा उनी एक चतुर राजनीतिज्ञ थिइन् भन्ने कुरा सम्भवतः यथार्थ हो। तर किन त्यस समयका शक्तिशाली पुरुषहरू उनीप्रति मोहित भए भन्ने कुरा आज पनि रहस्यकै गर्भमा छ। तर एउटा कुरा निश्चित छ। उनले जे जस्तो काम गरिन्, त्यसले आज पनि संसारलाई मोहित पारिरहेको छ। 

उनको जीवन प्रेम, शक्ति र राजनीतिसँग जोडिएको भएकाले उनी इतिहासमा अत्यन्त चर्चित व्यक्तित्व बनेकी छन्। विलियम शेक्सपियर, जोन ड्राइडेन र जर्ज बर्नार्ड शा जस्ता लेखकहरूले आफ्ना साहित्यिक कृतिहरूमा उनको व्यक्तित्वलाई प्रेरणाका रूपमा प्रस्तुत गरेका छन्।

ज्वाला संग्रौला र हर्कको फेसबुकमा जुहारी(भिडियो)

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ज्वाला संग्रौलाले श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङप्रति कडा प्रतिक्रिया व्यक्त गरेकी छन्। सुकुम्बासी बस्तीकी अलपत्र परेकी बालिका र प्रधानमन्त्री बालेन्द्र शाहकी छोरीको तस्बिर एकैसँग राखेर साम्पाङले फेसबुकमा ‘चुपचाप सरकारको पारा मिलेन है’ भन्दै व्यंग्य गरेका थिए। उक्त पोस्टलाई शेयर गर्दै संग्रौलाले, ‘माननीय हर्क साम्पाङ, तपाईं सुध्रिने मान्छे होइन’ भनेर प्रतिवाद गरेकी छन्।

संग्रौलाले यतिमै नरोकी साम्पाङका तीन वटा पोस्टहरू क्रमशः शेयर गर्दै थप आलोचना गरेकी छिन्। दोस्रो पोस्ट शेयर गर्दै उनले, “हाम्रो राजनेतालाई ग्रीन टी उपहार आइलाग्यो कि क्या हो?” भनेर टिप्पणी गरेकी छन्। यो पोस्टमा साम्पाङले सुकुम्बासी बस्ती भत्काइएको विरोध गर्दै ‘रवि लामिछाने जी, डोजर रोक्न अब तपाईंले नै प्रधानमन्त्री बन्नुपर्‍यो’ भनेर लेखेका थिए।

तेस्तै, तेस्रो पोस्टमा साम्पाङले “जसले भस्मे खोरिया फोडेर बस्ती बसायो, उसैलाई सुकुम्बासी बनाएर लखेट्ने तिमी को हो?” भन्दै सरकारलाई प्रश्न गरेका थिए। उक्त पोस्ट शेयर गर्दै संग्रौलाले प्रत्युत्तर दिँदै लेखेकी छन्, ‘सुकुम्बासी र हुकुमबासीको पहिचान त दिनुस्, न हर्क साम्पाङज्यू। त्यसपछि ‘तिमी को हौ’ को जवाफ आफैँ कामले दिन्छ।’

पालिकाको विवादास्पद निर्णयको विरुद्दमा जेनजी युवा अनसन बस्दै

दाङ। दाङ गढवा गाउँपालिकाका जेनजी अभियन्ता सन्देश भण्डारी क्षेत्रीले आमरण अनशन बस्ने घोषणा गरेका छन्। 

गाउँपालिकाले विभिन्न विवादास्पद विषयमा पटकपटक पत्राचार हुँदा पनि छलफल नगरी एकल निर्णय गरेको र आवश्यक सूचना समेत उपलब्ध नगराएको आरोप लगाउँदै उनले तीन दिनको अल्टिमेटम दिएका थिए। सो अवधिमा माग सम्बोधन नभएपछि उनले अबको आन्दोलन जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा केन्द्रित हुने बताएका छन्।

भण्डारीले देउखरी क्षेत्रका जनतालाई सम्बोधन गर्दै गाउँपालिकाप्रति विश्वास गुमेको र अन्यायले युवापुस्तालाई गहिरो चोट पुर्‍याएको उल्लेख गरेका छन्। उनले सर्वहारा वर्गले भोगेको पीडामा आफूहरू एकजुट रहेको र न्यायको पक्षमा उभिने स्पष्ट पारे। उनका अनुसार देशमै अन्यायको अवस्था देखिएको र जनप्रतिनिधिहरूले विवादास्पद विषयमा आफ्ना कार्यकर्तालाई जोगाउन खोजेको आरोप समेत लगाइएको छ।

उनले जेठ १८ गते बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय दाङको प्राङ्गणमा आमरण अनशन सुरु गर्ने घोषणा गर्दै युवा, बुद्धिजीवी, पत्रकार तथा सरोकारवालाहरूलाई साथ दिन आह्वान गरेका छन्। अन्याय, विभेद र भ्रष्टाचारविरुद्ध आवाज उठाउन आफू दृढ रहेको उनले बताएका छन्।

बालेन सरकारको कदमको विरोधमा बज्यो शंख (तस्बिरहरू)

काठमाडौं । सयुक्त विद्यार्थी सङ्गठनले साेमबार पाटन संयुक्त क्याम्पसमा शङ्खघोष र शान्ति स्वस्तिवाचन गरी विद्यार्थी संगठन खारेजीको विरुद्धमा प्रदर्शन गरेका छन्।

बालेन सरकारले खारेजीकाे निर्णय फिर्ता नलिए आन्दोलनका विभिन्न कार्यक्रम गरी सरकारको विरोध गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

उनीहरुले सिमानाका क्षेत्रमा १०० रुपैयाँ सामग्रीमा समेत भन्सार लगाए सरकारको निर्णय फिर्ता लिन माग गरेका छन् ।

 

बी.पी. राजमार्गको मर्मत सकियो, गाडी चल्यो (तस्बिरहरू)

काठमाडौं ।  शनिबार साँझदेखि अवरुद्ध रहेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ।
रोशी खोलामा आएको बाढीका कारण विभिन्न स्थानका डाइभर्सन बगाएपछि अवरुद्ध बनेको राजमार्ग मर्मत गर्न तीन दिन लागेको थियो। सोमबार दिउँसो साढे ३ बजेदेखि सवारी आवागमन पुनः सुरु गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ।
बाढीका कारण चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेँशी, बुलढुंगा र माम्तीसहित सिन्धुलीतर्फका आँपघारी र नेपालथोक क्षेत्रमा रहेका डाइभर्सन बगाएका थिए।
सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको समन्वयमा क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याइएको हो। हालका लागि अस्थायी रूपमा रोशी खोलाको किनार हुँदै डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन गरिएको छ।

आज पनि भत्काइयो मनोहराको सुकुम्बासी बस्ती(तस्बिरहरु)

काठमाडौं । मनोहरा नदी किनारको सुकुम्बासी बस्ती आज पनि भत्काइने काम जारी रह्यो। स्थानीय प्रशासन र सुरक्षा निकायको संयुक्त टोलीले लगातार दोस्रो दिन बस्ती हटाउने अभियान चलाएको हो।

बिहानैदेखि डोजर, एक्साभेटर र ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीको उपस्थितिमा टहरा, फूसका घर र अस्थायी संरचनाहरू हटाइएका छन्। बस्तीका धेरै परिवारले आफ्नो सामान सुरक्षित स्थानमा सार्न नपाउँदै घर भत्काइएका कारण तनावपूर्ण अवस्था देखिएको थियो।

समन्वयकारी नेता भीष्मराज आङदेम्बे बने कांग्रेस संसदीय दलको नेता

काठमाडौं । कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध निर्वाचित भएका छन् । ६१ वर्षे आङ्देम्बे अब प्रतिनिधिसभाको प्रमुख विपक्षी नेता पनि भएका छन् ।

झण्डै पाँच दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय आङ्देम्बे पञ्चायतविरोधी आन्दोलन, पहिलो र दोस्रो जनआन्दोलनका फ्रन्टलाइनर हुन् । उनै आङ्देम्बेले निकै लामो रस्साकस्सीपछि कांग्रेस संसदीय दलको नेता बन्ने अवसर पाएका हुन् ।

टाउकोमा कालो रुमाल बाँधेर विद्रोह

टाउकोमा कालो रुमाल । त्यो पनि स्कुलको प्रार्थना लाइनमा । सरहरू त छक्कै परे । कालो रुमाल टाउकोमा बेर्ने विद्यार्थीहरू थिए– भीष्मराज आङ्देम्बे, गजेन्द्र आङ्देम्बेलगायत । त्यसको स्पष्ट सन्देश थियो– भद्र र शान्तिपूर्ण विद्रोह । २०३६ सालको त्यो दृश्य पाँचथरको फिदिम मा.वि.को थियो ।

जतिबेला देशमा पञ्चायती शासनको जरो हल्लिँदै थियो । पाँचथरको दक्षिण–पश्चिमी सीमा जोडिने धनकुटाका सूर्यबहादुर थापा सुधारिएको पञ्चायतलाई जिताउनेगरी जनमत सङ्ग्रह गर्न प्रधानमन्त्री भएका थिए ।

पञ्चायतपक्षधरहरूको जगजगी यतिसम्म थियो कि पाँचथरको यासोकमा कर्ण लावतीको हत्या गरे । तर, ज्यान मुद्दा खेप्ने कांग्रेसका २१ जना सिनियर नेताहरू भए । उनीहरू थिए– भूविक्रम नेम्बाङ, प्रेमराज आङ्देम्बे, घनेन्द्रराज आङदेम्बे, नरेन्द्र प्रधान, तेजप्रकाश रिजाल, चन्द्रशेर आङ्देम्बेलगायत । कर्णको हत्या घटनाका प्रत्यक्षदशी हुन्– भीष्म । त्यसबेला उनी ‘जेन–जी’ उमेरका थिए । उक्त घटना उनलाई अन्यायविरुद्ध उभिन थप प्रेरित गर्‍यो।

जनआन्दोलनका कमाण्डर र जेल

राष्ट्रिय पञ्चायतको चुनाव २०३९ मा भयो । विद्रोही शक्ति कांग्रेसले देशव्यापी चुनाव बहिष्कार गरेको थियो । पञ्चायतका नेताहरूले निर्विरोध हुन चाहन्थे । त्यसलाई रोक्न कांग्रेसले चाह्यो । पाँचथरको साविक उम्लाबुङ घर भएका आङ्देम्बे  आफ्ना बाजे देउमान आङ्देम्बे (पूर्वमन्त्री)बाट पैसा लिएर जोरसाल गए । खुंगाका मानबहादुर जबेगूलाई भेटेर पैसा दिए, जो कांग्रेस समर्थित उम्मेदवार थिए । तर, पद्मसुन्दर लावती निर्वाचित भए ।

२०४२ सालमा कांग्रेस नेताहरू सत्याग्रह बसे । भीष्म ९ महिना जेल बस्नुपर्‍यो । त्यसपछि पटकपटक गरी उनी डेढ वर्ष जेल बसे । भीष्म २०४२ तिरै नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य थिए ।

२०४६ सालको जनआन्दोलनमा उनले नेविसंघको केन्द्रीय सदस्यको रूपमा पूर्वाञ्चलको कमाण्ड सम्हाले । यता काठमाडौंमा गणेशमान सिंह आन्दोलनको सर्वोच्च कमाण्डर थिए । अन्ततः २०४६ को चैत २४ गते देशमा बहुलीय प्रजातन्त्र पुनःस्थापित भयो ।

जिविस सदस्यदेखि संविधान निर्माताको त्यो जिम्मेवारी

२०४९ को स्थानीय निकायको निर्वाचन हुँदा भीष्मको नाम जिल्ला विकास समिति पाँचथरको सभापतिमा चल्यो । भूविक्रम नेम्बाङ सिनियर लिडर हुनाले उनलाई छाडे । भीष्म जिल्ला विकास समितिको सदस्य भए । जनप्रतिनिधिको रूपमा रहेर भीष्मको यो पहिलो यात्रा थियो । त्यसछि उनी पाँचथर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ को कांग्रेस सभापति भए ।

२०५१ सालतिर भीष्म नेपाल तरुण दलको केन्द्रीय उपाध्यक्ष भए । माओवादीले सशस्त्र विद्रोह गर्न लाग्दा कांग्रेसको मेरुदण्ड भनिने तरुण दलको उपाध्यक्षको जिम्मेवारीमा उनी थिए । अध्यक्ष बालकृष्ण खाण थिए ।

२०५६ सालदेखि उनले संसदीय निर्वाचन लडे– प्रतिनिधिसभा निर्वाचन क्षेत्र–२ बाट । तर, जित २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा भयो । भनिन्छ, आङ्देम्बेलाई जहिल्यै हराउन राप्रपा (पद्मसुन्दर लावती) र एमाले (डम्बरसिंह सम्बाहाम्फे)बीच अघोषित गठबन्धन हुन्थ्यो, जसकारण उक्त क्षेत्रबाट चुनाव जित्नु कांग्रेसका लागि फलाम चपाउनुसरह मानिन्थ्यो ।

यद्यपि, तेस्रोपटकको प्रतिस्पर्धामा चुनाव जितेर आङ्देम्बे संविधानसभा आए । उनी संविधानसभा सदस्यका रूपमा छँदा संसदीय सुनुवाई समिति सदस्य भए । संविधान निर्माणमा क्रममा देखिएका विवाद समाधान गर्न गठित समितिमा रहेर काम गरे ।

अन्ततः देशले ३ असोज २०७२ मा संविधान पायो । संविधानसभा व्यवस्थापिका संसद्मा रुपान्तरित भइसकेपछि उनी संसद्को उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण समिति सभापति भए । अर्थात् ‘मिनी संसद्’ भनिने संसदीय समितिको नेतृत्व लिए ।

कांग्रेसलाई पहिचानको मुद्दामा हिँडाउने नेता

पहिलो संविधानसभादेखि दोस्रो संविधानसभासम्म आइपुग्दा देशमा पहिचानको मुद्दा तीव्र रूपमा उठ्यो। राज्य पुनर्संरचना एकल पहिचान वा बहुपहिचानको आधारमा गर्ने भन्ने मूल बहसबीच भीष्मराज आङ्देम्बेले नेपाली समाजको बहुजातीय र बहुधार्मिक संरचनालाई स्वीकार गर्दै बहुपहिचानकै आधारमा समाधान खोज्नुपर्ने धारणा राखे। त्यतिबेला कांग्रेसभित्र यस विषयमा खुलेर बोल्ने नेता अत्यन्त कम थिए।

भीष्म स्वयं भन्छन्, त्यस समय पहिचानसम्बन्धी कार्यक्रममा कांग्रेसका नेताहरू जानै हिच्किचाउँथे। मोरङमा आयोजित एक कार्यक्रममा अमृत अर्यालको निमन्त्रणामा सहभागी हुँदा कांग्रेसबाट आफू र एमालेबाट लालबाबु पण्डितलगायत केही नेताले मात्र बहुपहिचानको पक्षमा स्पष्ट धारणा राखेको उनको सम्झना छ।

बहुपहिचानको पक्षमा खुलेर बोलेपछि भीष्मले देशभित्र मात्र होइन, विदेशमा पनि विरोध सामना गर्नुपर्‍यो। दक्षिण कोरिया, हङकङ र मलेसियालगायत देशमा भ्रमणका क्रममा उनीविरुद्ध कालो झण्डा देखाइयो, कार्यक्रम बहिष्कार गरियो र पहिचान विरोधीको आरोपसमेत लगाइयो।

तर, यी सबै विरोधका बीच पनि उनले आफ्नो अडान परिवर्तन गरेनन्। बरु, उनले एकल पहिचानका पक्षधरहरूसँग संवाद गर्दै बहुपहिचान नै नेपाली समाजको यथार्थअनुकूल हुने तर्क अघि सारे। उनले लिम्बुवान आन्दोलनसँग सम्बन्धित नेताहरू वीर नेम्बाङ, कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वालगायतको नाम उल्लेख गर्दै बहुपहिचानमा आधारित राज्य पुनर्संरचना नै उपयुक्त हुने धारणा राखे।

भीष्मले पार्टीभित्र पनि पहिचानको मुद्दामा कठोर धारणा राख्ने समूहबाट असहयोग भोग्नुपर्‍यो। पार्टी महाधिवेशनहरूमा उनलाई खुला रूपमा समर्थन नदिइएको अनुभव उनले सुनाएका छन्।

उनका अनुसार, त्यो समय पार्टीभित्रैबाट उत्पन्न भएको असहयोग उनको राजनीतिक जीवनको तीतो अध्याय बने पनि उनले आफ्नो विचार त्यागेनन्। उनी भन्छन्, अन्ततः देश त्यही दिशातर्फ अघि बढ्न बाध्य भएको छ।

राज्य पुनर्संरचनामा पहिचानलाई कसरी समेट्ने भन्ने विषयमा भीमबहादुर तामाङ, महेश आचार्य, मिनेन्द्र रिजाल र भीष्मराज आङ्देम्बेलगायत नेताहरू सम्मिलित एउटा समिति गठन गरिएको थियो। उक्त समितिले व्यापक बहस र छलफलपछि ‘जातीय द्वन्द्व मेटिने, पहिचान भेटिने’ भन्ने मार्गचित्र प्रस्तुत गरेको थियो।

भीष्मका अनुसार, यो निष्कर्ष केवल सैद्धान्तिक धारणा नभई जनस्तरको वास्तविक भावना र अनुभवमा आधारित थियो।

समितिको निष्कर्षअनुसार प्रदेशहरूको सीमाङ्कन र नामकरणमा कांग्रेस कत्तिको इमानदार रह्यो भन्ने विषय समीक्षा गर्नुपर्ने उनी बताउँछन्। पहिचानको आधारमा प्रदेशको नामकरण नभएकोप्रति उनी विगतदेखि असन्तुष्ट छन्।

विशेषगरी, कोशी प्रदेशको नाम ‘किरात’ राखिनुपर्ने उनको धारणा छ। साथै, अन्य प्रदेशहरूको नामसमेत पहिचानकै आधारमा तय हुनुपर्ने पक्षमा उनी दृढ रूपमा उभिएका छन्।

समन्वयकारी नेता

पार्टीभित्र विचार समूहका नाममा सक्षम र योग्य नेताहरू पाखा पर्ने तथा कमजोर नेताहरू हाबी हुने प्रवृत्तिप्रति भीष्मराज आङ्देम्बेले सधैं खबरदारी गर्दै आएका छन्।

उनी स्वयं विचार समूहमा रहे पनि यस्तो प्रवृत्तिविरुद्ध निरन्तर आवाज उठाउँदै आएका थिए। तर, यसरी समन्वय र सन्तुलनको पक्षमा उभिँदा राजनीतिक लाभको दृष्टिले भने उनलाई घाटा भएको उनले स्वीकार गरेका छन्।

उनका अनुसार, नेविसंघको राजनीतिमा सक्रिय रहँदा संगठनबारे सामान्य जानकारीसमेत नभएका केही व्यक्तिहरू पछि राज्य सञ्चालनको उच्च तहमा पुगे। यस सन्दर्भमा उनी भन्छन्, आफूले अघि सारेको समन्वयात्मक सोच त स्थापित भयो, तर व्यक्तिगत रूपमा आफू भने पछि परे।

समन्वयको कुरा उठाउँदा आफ्नै विचार समूहभित्रका नेताहरू पनि अनुदार देखिएको उनको अनुभव छ। उनले पार्टी नेतृत्वप्रति संकेत गर्दै, यदि त्यसबेला नेतृत्वले दूरदर्शिता देखाएको भए नेपाली कांग्रेसभित्र देखिएको वितृष्णा कम हुन सक्ने बताएका छन्।

यस अवधिमा भीष्मले कांग्रेसको आदिवासी जनजाति विभागको संयोजकका रूपमा काम गर्दै पार्टीभित्र समावेशी मुद्दालाई उठाए र त्यसलाई सम्बोधन गर्न दबाब सिर्जना गरे। साथै, केन्द्रीय अनुशासन समितिको संयोजक भएर उनले संगठनभित्र अनुशासन कायम गर्ने जिम्मेवारी पनि सम्हाले।

उनी भन्छन्, अनुशासन समितिको काम स्वभावतः अलोकप्रिय हुन्छ, किनकि कारबाहीपछि असन्तुष्टि उत्पन्न हुन्छ। तथापि, उनले पार्टीको हितका लागि कठिन निर्णय लिन पछि नहटेको र पछाडि फर्केर हेर्दा पश्चाताप गर्नुपर्ने कुनै काम नगरेको बताएका छन्।

आङ्देम्बे तीनपटक केन्द्रीय सदस्य र एकपटक केन्द्रीय सहमहामन्त्री भइसकेका नेता हुन् ।

 

महेश बस्नेतको आरोप: ‘माइतीघरमा मेरो श्रीमतीमाथि गालीगलौज गरियो’(भिडियो)

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आफ्नो श्रीमतीमाथि गालीगलौज र हातपात भएको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत साइबर ब्युरोमा उजुरी दिन जाँदै गर्दा माइतीघर मण्डलामा भएको घटनाबारे गम्भीर टिप्पणी गरेका हुन्।

‘मेरो र हाम्रो परिवारमाथि गरिएको साइबर अपराधविरुद्ध उजुरी दिन साइबर ब्युरो जाने क्रममा माइतीघर क्षेत्रमा भएको भिडभाड झ्यालबाट हेर्दै गर्दा त्यहाँ उपस्थित केही व्यक्तिहरू केटा मान्छेले समेत मेरो श्रीमती सहित केही महिलालाई गालीगलौज गर्नुका साथै हातपात समेत गरेका छन्,’ उनले लेखेका छन्  

बस्नेतका अनुसार साइबर अपराधविरुद्ध उजुरी दिन जाने क्रममा माइतीघर क्षेत्रमा भएको भिडभाड झ्यालबाट हेर्दा केही व्यक्तिहरूले उनकी श्रीमतीसहित अन्य महिलालाई गालीगलौज गर्नुका साथै हातपातसमेत गरेको देखिएको थियो। उनले उल्टै आफ्नी श्रीमतीसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको दाबी गरेका छन्।

उनले केही सञ्चार माध्यमहरूले घटनालाई गलत रूपमा प्रस्तुत गर्दै भ्रामक समाचार फैलाएको आरोप लगाएका छन्। साथै, माइतीघर मण्डलाजस्तो सार्वजनिक स्थललाई व्यक्तिको चरित्र हत्या गर्ने थलो बनाइएको भन्दै आपत्ति जनाएका छन्।

बस्नेतले सरकार मौन दर्शक बनेको आरोप लगाउँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्। उनले न्याय नपाइए सशक्त प्रतिरोध गर्ने चेतावनीसमेत दिएका छन्।

‘यस्तो संवेदनशील विषयमा सरकार मौन दर्शक बनेर बस्नु उपयुक्त हुँदैन। पीडित आफैंले न्याय खोज्नुपर्ने अवस्था सिर्जना हुनु, उल्टै उनीहरूमाथि हातपात हुनु र गिरफ्तार गरिनु कुनै पनि लोकतान्त्रिक समाजका लागि राम्रो संकेत होइन।’ बस्नेत अगाडि थप्छन्। 

यसैबीच, आज दिउँसो माइतीघरमा अम्बिका बस्नेत र शोभा पाठकबीच भएको झगडाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

 

सेयर बजार ७ दशमलव ७३ अङ्कले बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि देखिएको छ। नेप्से परिसूचक ७.७३ अंकले बढेर २,७९६ बिन्दुमा पुगेको छ। यसअघि शुक्रबार पनि नेप्से १.५ अंकले बढेको थियो।

यद्यपि आज कारोबार रकम घटेको छ। अघिल्लो दिन ५ अर्ब २७ करोड रुपैयाँको कारोबार भएकोमा आज घटेर ४ अर्ब ७४ करोड रुपैयाँमा सीमित भएको छ। बजारमा १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको घटेको र १० कम्पनीको स्थिर रहेको छ।

उपसमूहतर्फ उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५२ प्रतिशतले बढेको छ। त्यस्तै विकास बैंक १.१४ प्रतिशत, बैंकिङ ०.६८ प्रतिशत, फाइनान्स ०.४२ प्रतिशत, होटल तथा पर्यटन ०.९७ प्रतिशत, जीवन बीमा ०.१३ प्रतिशत, माइक्रोफाइनान्स ०.२९ प्रतिशत र निर्जीवन बीमा ०.१५ प्रतिशतले बढेका छन्।

तर हाइड्रोपावर ०.१९ प्रतिशत, लगानी ०.२८ प्रतिशत, अन्य ०.४४ प्रतिशत र व्यापार समूह १.३९ प्रतिशतले घटेका छन्।

आज चार कम्पनीको सेयर मूल्य १५ प्रतिशतले वृद्धि भएको छ। यसमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज, कर्पोरेट डेभलपमेन्ट बैंक, शिखर पावर र सिटी होटल रहेका छन्। झापा इनर्जीको मूल्य ९.४४ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको ६.८६ प्रतिशतले बढेको छ।

माइखोला हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ। आज सबैभन्दा बढी कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत् कम्पनी, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन्।

मक्सको कम्पनी एक्सले ल्यायो ‘एक्सच्याट’

काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म एक्सले मेसेज आदानप्रदानका लागि आफ्नो छुट्टै एप ‘एक्सच्याट’ सार्वजनिक गरेको छ। शुक्रबारदेखि सर्वसाधारणका लागि उपलब्ध गराइएको यो एप हाल आईओएस प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ।

नयाँ एपमार्फत प्रयोगकर्ताले आफ्ना एक्स कन्ट्याक्टसँग कुराकानी गर्न, फाइलहरू आदानप्रदान गर्न, अडियो तथा भिडियो कल गर्न र समूह च्याट सञ्चालन गर्न सक्नेछन्। कम्पनीले यसअघि सानो प्रयोगकर्ता समूहमा यसको बेटा परीक्षण गरेको थियो।

एक्सच्याटको सुरुवात कम्पनीको दीर्घकालीन रणनीतिक योजनाको हिस्सा मानिएको छ। एक्सले आफ्नो प्लेटफर्मलाई मेसेजिङ र भुक्तानीजस्ता सेवाका लागि आधार बनाउने योजना अघि सारेको छ। भुक्तानी सेवाका लागि पनि छुट्टै एप परीक्षण भइरहेको भए पनि हालसम्म सार्वजनिक गरिएको छैन।

यो कदम एलन मस्कको पहिलेको ‘एभ्रिथिङ एप’ योजनाभन्दा फरक देखिन्छ, जहाँ मेसेज, भुक्तानी, क्रियटर कन्टेन्ट, शपिङ र एआई सेवा एउटै प्लेटफर्ममा ल्याउने लक्ष्य राखिएको थियो। अहिले भने एक्सएआईमार्फत छुट्टाछुट्टै एप संरचना अघि बढाइएको छ।

एक्सच्याटमा मेसेज सम्पादन र मेटाउने सुविधा, डिसअपियरिङ मेसेज, र स्क्रिनसट ब्लक गर्ने जस्ता सुरक्षा सुविधा छन्। कम्पनीले यसमा विज्ञापन वा प्रयोगकर्ता ट्र्याकिङ नरहेको दाबी गरेको छ। सबै मेसेज ‘इन्ड–टु–इन्ड इन्क्रिप्टेड’ र पिनद्वारा सुरक्षित हुने बताइएको छ।

तर सुरक्षा विज्ञहरूले यसको इन्क्रिप्सन दाबीमाथि प्रश्न उठाउँदै यसलाई सिग्नलजस्ता एपभन्दा कम सुरक्षित हुन सक्ने चेतावनी दिएका छन्। अब एप व्यापक रूपमा प्रयोगमा आएपछि यसको सुरक्षा पक्ष पुनः मूल्यांकन गरिने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार एक्सच्याट भविष्यमा एक्सको कम्युनिटिज फिचरको मुख्य प्लेटफर्म पनि बन्नेछ। मुख्य एपमा कम्युनिटिज बन्द भएपछि प्रयोगकर्तालाई यहाँ सारिएको हो।

एक्सका प्रमुख डिजाइनर बेन्जी टेलरका अनुसार यो केवल सुरुवात हो र आगामी दिनमा मेसेजिङ सेवामा थप नयाँ सुविधाहरू जोडिनेछन्। एन्ड्रोइड संस्करण कहिले आउने भन्ने विषयमा भने कम्पनीले स्पष्ट जानकारी दिएको छैन।

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी, अध्यादेश ल्याउने तयारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा केहीबेरदेखि बैठक जारी रहेको हो।

आजको बैठकले संवैधानिक परिषद् लगायतका विषयमा अध्यादेश ल्याउने तयारी गरेको बताइएको छ।

यसअघि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि संघीय संसद् अधिवेशन आह्वान गरेका थिए। तर त्यसको भोलिपल्टै सरकारकै अर्को सिफारिसमा उक्त अधिवेशन स्थगित गरिएको थियो।

प्रधानाध्यापक कुटिएपछि २ शिक्षक पक्राउ

सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका-५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय च्याङरीङका प्रधानाध्यापक डम्मरुप्रसाद दाहालमाथि कार्यकक्षमै हातपात भएको छ।

५४ वर्षीय दाहालमाथि भएको उक्त घटनामा संलग्न भएको आरोपमा सोही विद्यालयका शिक्षक सोमनाथ दाहाल (५५) र शिक्षिका लेखकुमारी भट्टराई (५४) लाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिए।

प्रहरीका अनुसार वैशाख ९ गते विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिने क्रममा शिक्षक प्रतिनिधि छनोटलाई लिएर प्रधानाध्यापक र शिक्षकबीच विवाद भएको थियो। सोही विवाद पछि बढ्दै जाँदा कार्यकक्षमै हातपातको घटना भएको हो।

घटनाका क्रममा निर्णयसम्बन्धी कागजातसमेत च्यातिएको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।