`

५ किलो गाँजा र १४ ग्रामभन्दा बढी ब्राउन सुगरसहित चार जना पक्राउ

झापा। नेपाली प्रहरीले झापाका विभिन्न स्थानबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले बिर्तामोड नगरपालिका-४ स्थित एक घरमा छापा मार्दा ५ किलो ९० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी सुमन बानियाँले जानकारी दिए ।

सोही घटनासँग सम्बन्धित आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका-७ का ३० वर्षीय विनोद मगर र भोजपुरको हतुवागढी गाउँपालिका–४ का करिब २० वर्षीय सागर राईलाई पक्राउ गरेको छ ।

यसैबीच, झापा गाउँपालिका–४ टाघनडुब्बा क्षेत्रबाट पनि ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका व्यक्तिमाथि शंका लागेपछि खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा दमक नगरपालिका–१० का ३२ वर्षीय सुरज रायको साथबाट ६ ग्राम १ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

त्यसैगरी, मोरङको विराटनगर महानगरपालिका–३ का ४२ वर्षीय बाबुराम दर्जीको साथबाट ८ ग्राम ७० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

दिल्लीको होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु, दर्जनौँ घाइते

एजेन्सी। भारतको राजधानी नयाँदिल्लीस्थित एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

यो घटना पछिल्ला वर्षहरूमा राजधानीमा भएको सबैभन्दा घातक आगलागीका रूपमा पुष्टि गरिएको छ ।

दिल्लीको दक्षिणी भागमा रहेको घना बस्तीमा अवस्थित ‘फ्लोरिस स्टे’ नामक बेड-एन्ड-ब्रेकफास्ट होटलमा बुधबार बिहान आगलागी भएको हो । आगो तीव्र गतिमा फैलिँदा भवनभित्र रहेका पाहुना तथा कर्मचारीहरू फस्न पुगेका थिए ।

उद्धार तथा खोजी कार्य जारी रहँदा ४० भन्दा बढी घाइतेलाई नजिकका अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । घटनास्थलमा आठ वटा दमकल परिचालन गरी लामो प्रयासपछि आगो नियन्त्रणमा लिइएको हो ।

अधिकारीहरूले प्रारम्भिक उद्धारपछि २१ जनालाई मृत घोषित गरिएको पुष्टि गरेका छन् । प्रहरी र आपतकालीन टोलीहरू अझै पनि घटनास्थलमा तैनाथ छन् र थप खोज तथा उद्धार कार्य जारी छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मृतकमध्ये धेरै अफ्रिकी मुलुकका नागरिक भएको अनुमान गरिएको छ । उनीहरू उपचार तथा अन्य प्रयोजनका लागि दिल्ली आएका थिए । तर आधिकारिक रूपमा मृतकहरूको पहिचान सार्वजनिक गरिएको छैन ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनका कार्यालयले पनि सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गरेको छ ।

आगलागीको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ ।

भारतमा यस्ता घटनाको प्रमुख कारणका रूपमा विद्युत् सर्ट सर्किट, पुरानो तारजडान र सुरक्षा मापदण्डको बेवास्तालाई लिने गरिएको छ ।

रवि भेटेपछि मोदीले भने – ‘नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन तयार छौँ’

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको जानकारी दिएका छन् ।

भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री मोदीले लामिछानेलाई भेट्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् ।

उनले नेपाल र भारतको साझा तथा समृद्ध भविष्य निर्माणका लागि सहकार्य गर्ने लामिछानेको इच्छाको स्वागत गर्दै आफू पनि त्यसमा पूर्ण रूपमा सहमत रहेको बताएका छन् ।

प्रधानमन्त्री मोदीले भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत नेपाललाई प्राथमिकताप्राप्त साझेदारका रूपमा लिइएको उल्लेख गर्दै दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन भारत तयार रहेको स्पष्ट पारेका छन् ।

उनले नेपाल-भारत सम्बन्धलाई अझ मजबुत बनाउँदै आर्थिक, सामाजिक तथा जनस्तरको सहकार्य विस्तारमा भारत प्रतिबद्ध रहेको पनि बताएका छन् ।

विपक्षी सांसदहरुलाई ओलीको सलाम, भने- बालेनले देशद्रोही कुरा गरे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशद्रोही अभिव्यक्ति दिएको बताएका छन् ।

ओलीले नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको संलग्नता आवश्यक नरहेको स्पष्ट गर्दै विवादलाई दुई देशबीचको संवादबाटै समाधान गर्नुपर्ने बताए। उनले सीमा विवादका विषयमा बाह्य पक्षलाई समावेश गर्ने धारणा अस्वीकार्य हुने टिप्पणी गरे।

ओलीले नेपालले भारतको जमिन मिचेको भन्ने प्रधानमन्त्री बालेनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई ‘राष्ट्रघाती कुरा को संज्ञा दिए।

उनका अनुसार नेपालले भारतको कुनै पनि जमिन नमिचेको दाबी गर्दै यस्ता अभिव्यक्तिले दुई देशबीचको सम्बन्धमा नकारात्मक असर पार्ने बताए।

उनले प्रतिपक्षी सांसदहरूको भूमिकाप्रति धन्यवाद व्यक्त गर्दै संसदमा देशको हितमा आवाज उठाउने काम भएको बताए।

साथै संसद सञ्चालन र सभामुखको भूमिकामाथि पनि प्रश्न उठाउँदै देशहितका विषयमा पर्याप्त रुलिङ नभएको टिप्पणी गरे।

ओलीले एमालेमाथि लक्षित आलोचना र राजनीतिक आक्रमण भइरहे पनि पार्टी अझ सशक्त रूपमा अघि बढ्ने दाबी गरे। ‘एमाले फेरि उठ्छ, धक्का दिनेहरूलाई फेरि धक्का दिन्छ,’ उनले भने।

उनले देशमा अत्याचारको अवस्था बढ्दै गएको आरोप लगाउँदै लोकतन्त्र र जनताको अधिकारको पक्षमा एमाले निरन्तर संघर्षमा रहने बताए।

१८औं इन्डो-नेपाल खुला कराते प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदै

काठमाडौं। टेक्सास इन्टरनेसनल कलेजको आयोजनामा १८औं इन्डो–नेपाल खुला कराते प्रतियोगिता यही शुक्रबारदेखि सुरु हुने भएको छ ।

नेपाल गोजुकाइ कराते डो संघको प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगितामा नेपाल र भारतका गरी कुल २७३ खेलाडीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा नेपालबाट २५० र भारतबाट २३ खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुष र महिला दुवै विधामा समान ११–११ स्पर्धा रहनेछ । खेलहरू मित्रपार्कस्थित टेक्सास इन्टरनेसनल कलेजको प्राङ्गणमै सञ्चालन गरिने प्रतियोगिता संयोजक तथा गोजुकाइ कराते डो संघका महासचिव इन्द्रबहादुर शाही खड्गेले जानकारी दिए ।

दुई दिनसम्म चल्ने यो प्रतियोगिताले नेपाल–भारतबीचको खेलकुद सम्बन्ध थप सुदृढ गर्ने अपेक्षा गरिएको छ ।

गर्मी छल्न फेवातालमा हेलिँदै पर्यटक,लोकप्रिय बन्दै ‘स्ट्याण्ड अप प्याडल बोर्डिङ’ [फोटो-फिचर]

पोखरा। पछिल्लो समय बढ्दो गर्मीका बीच पर्यटकहरू शीतलता र मनोरञ्जनको खोजीमा पोखराको फेवातालतर्फ आकर्षित हुन थालेका छन्।

विशेषगरी आन्तरिक तथा विदेशी पर्यटकहरू गर्मी छल्न फेवातालमा विभिन्न जलक्रीडामा सहभागी भइरहेका छन्।

फेवातालमा पछिल्ला वर्षहरूमा ‘स्ट्याण्ड अप प्याडल बोर्डिङ’ (एसयूपी) युवापुस्तामाझ लोकप्रिय बन्दै गएको छ। तालको शान्त पानीमाथि विशेष बोर्डमा उभिएर प्याडल चलाउने यो साहसिक तथा मनोरञ्जनात्मक गतिविधिप्रति युवाहरूको आकर्षण बढ्दो छ।

शारीरिक सन्तुलन, व्यायाम र मनोरञ्जन एकैसाथ प्राप्त हुने भएकाले एसयूपी धेरैको रोजाइमा पर्न थालेको व्यवसायीहरू बताउँछन्।

पोखरामा केही समययता तापक्रम वृद्धि भएसँगै फेवाताल क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या पनि बढेको छ। तालमा डुंगा सयरसँगै स्ट्याण्ड अप प्याडल बोर्डिङ, कायकिङ लगायतका गतिविधिमा सहभागी हुनेहरूको चहलपहल बढेको देखिन्छ।

पर्यटकहरू बिहान र साँझको समयमा फेवातालमा एसयूपी गर्दै हिमाल, ताल र हरियालीको मनोरम दृश्य अवलोकन गर्न पाउँदा छुट्टै आनन्द मिल्ने बताउँछन्।

सामाजिक सञ्जालमा आकर्षक तस्बिर तथा भिडियो साझेदारी गर्न सकिने भएकाले पनि युवा पुस्तामा यसको लोकप्रियता बढेको व्यवसायीहरूको भनाइ छ।

जलपर्यटनसँग सम्बन्धित व्यवसायीहरूका अनुसार स्ट्याण्ड अप प्याडल बोर्डिङले पोखराको पर्यटनमा नयाँ आयाम थपेको छ। तालको प्राकृतिक सौन्दर्यसँगै साहसिक अनुभव लिन चाहने पर्यटकहरूका लागि यो गतिविधि आकर्षणको केन्द्र बन्दै गएको छ।

गर्मी बढेसँगै फेवातालमा जलक्रीडाको रमाइलो अनुभव लिन आउने पर्यटकहरूको चाप अझ बढ्ने अपेक्षा गरिएको छ।

DCIM104MEDIADJI_0654.JPG

DCIM104MEDIADJI_0631.JPG

DCIM104MEDIADJI_0648.JPG

पर्यटन व्यवसायीहरूले सुरक्षित र व्यवस्थित रूपमा सेवा प्रदान गर्दै पोखरालाई जलपर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गर्ने प्रयास गरिरहेका छन्।

 

गोली चलाउने पत्ता लाग्दैन, तर नेतृत्वलाई दोष : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी विद्रोहका क्रममा भएको गोलीकाण्डको वास्तविकता अझै सार्वजनिक नभएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

ओलीले राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न व्यक्तिमाथि कारबाही सिफारिस गरे पनि गोली चलाउने व्यक्तिको पहिचान गर्न नसकेको दाबी गरे।

उनले घटनाको मुख्य प्रश्न कसले गोली चलायो भन्ने रहेको उल्लेख गर्दै त्यसतर्फ पर्याप्त ध्यान नदिइएको आरोप लगाए।

‘कसले गोली चलायो, त्यो पत्ता लगाइँदैन। तर भूतप्रभावी कानुन बनाएर मलाई र रमेश लेखकलाई कारबाही गर्नुपर्छ भनिन्छ,’ ओलीले भने।

उनले आयोगको प्रतिवेदन र त्यसबाट आएका निष्कर्षमाथि प्रश्न उठाउँदै घटनाका वास्तविक दोषी पहिचान गर्नुको सट्टा राजनीतिक नेतृत्वलाई लक्षित गरिएको दाबी गरे।

गोली प्रहारबाट ज्यान गुमाएका र घाइते भएका व्यक्तिका परिवारले अझै पनि घटनाको सत्य तथ्य जान्न नपाएको उनको भनाइ थियो।

ओलीले घटनाका क्रममा भएको हिंसा, आगजनी र गोलीकाण्डबारे निष्पक्ष तथा विश्वसनीय अनुसन्धान हुनुपर्नेमा जोड दिए। उनले दोषी जोसुकै भए पनि कानुनको दायरामा ल्याउनुपर्ने बताए।

मानव अधिकार आयोगले भने जेनजी विद्रोहसम्बन्धी आफ्नो प्रतिवेदनमा विभिन्न राज्य निकाय र पदाधिकारीको भूमिकामाथि प्रश्न उठाउँदै कारबाहीका लागि सिफारिस गरेको छ। तर आयोगको प्रतिवेदन सार्वजनिक भएपछि त्यसका निष्कर्षलाई लिएर राजनीतिक वृत्तमा बहस जारी छ।

यही क्रममा ओलीले घटनाको सबैभन्दा महत्वपूर्ण प्रश्न अझै अनुत्तरित रहेको दाबी गर्दै जेनजी विद्रोहमा गोली चलाउने व्यक्तिको पहिचान र त्यसको सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

बजेटमा आइटी क्षेत्रप्रति सकारात्मक नीति, एनएएसएसआईटीको स्वागत

काठमाडौं। आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सूचना प्रविधि (आइटी) क्षेत्रलाई नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि सारिएको भन्दै नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनी (एनएएसएसआईटी) ले सरकारको नीतिगत पहलको स्वागत गरेको छ ।

संस्थाले विज्ञप्ति जारी गर्दै बजेटमा समेटिएका आइटी क्षेत्रमैत्री नीतिहरूले नेपालको आइटी निर्यात वृद्धि, विदेशी मुद्रा आर्जन, उच्च गुणस्तरीय रोजगारी सिर्जना तथा नेपाललाई विश्वव्यापी डिजिटल सेवा गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

बजेटमा सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त आम्दानीमा कर सहुलियत दिने व्यवस्था, आइटी क्षेत्रका जनशक्तिका लागि स्वेट इक्विटीसम्बन्धी कर व्यवस्थामा सुधार, तथा व्यक्तिगत आयकरको उच्चतम दर ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशतमा सीमित गर्ने प्रावधान समेटिएको छ ।

त्यसैगरी भ्याट फिर्ता प्रक्रियालाई थप व्यवस्थित र स्वचालित बनाउने, दोहोरो कर परिहार सम्झौता विस्तार गर्ने तथा कृत्रिम बुद्धिमत्ता (एआई), नवप्रवर्तन र डिजिटल अर्थतन्त्र प्रवर्द्धन गर्ने कार्यक्रमहरू पनि बजेटमा समावेश गरिएको छ ।

संस्थाका अनुसार यी व्यवस्थाहरूले आइटी उद्योगको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछन् ।

एनएएसएसआईटीले नेपाललाई विश्वस्तरमा प्रतिस्पर्धी आइटी गन्तव्य बनाउन अझै अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी कर संरचना र लगानीमैत्री नीति आवश्यक रहेको औंल्याएको छ ।

संस्थाले सरकारसँग सहकार्य गर्दै नेपाललाई दक्षिण एसियाकै अग्रणी डिजिटल तथा आइटी सेवा केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यमा काम गर्ने प्रतिबद्धता पनि जनाएको छ । साथै, देशमै लाखौँ उच्च पारिश्रमिकयुक्त प्रविधि रोजगारी सिर्जना गर्ने अभियानमा सक्रिय रहने उल्लेख गरिएको छ ।

संस्थाले सरकारको १०० बुँदे कार्यक्रम तथा राष्ट्रिय प्रतिबद्धतापत्रमा समावेश भएका आइटी क्षेत्रसम्बन्धी केही महत्वपूर्ण नीतिगत तथा संरचनात्मक व्यवस्थाहरू बजेटमा समेटिन नसकेकोप्रति पनि ध्यानाकर्षण गराएको छ ।

सरकारले बजेटमार्फत डिजिटल अर्थतन्त्रलाई प्राथमिकतामा राखे पनि दीर्घकालीन प्रभावकारी कार्यान्वयनका लागि थप स्पष्ट नीति र संरचनात्मक सुधार आवश्यक रहेको संस्थाको भनाइ छ ।

शाहीले भने – ‘तिमीहरूको डिएनएमै मिलेर जाने भन्ने रहेनछ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवादलाई लिएर नेता ज्ञानेन्द्र शाहीले नेतृत्वप्रति असन्तुष्टि जनाएका छन्।

अध्यक्ष राजेन्द्र लिङ्देनसँग असहमति राख्दै महामन्त्री धवलशमशेर राणाले नयाँ पार्टी गठनको तयारी थालेको चर्चा चलिरहेका बेला शाहीले नेतृत्वप्रति कडा टिप्पणी गरेका हुन्।

उनले भनेका छन्, ‘तिमीहरूको डिएनएमै मिलेर जाने भन्ने रहेनछ। तिमीहरूको जुँगाको लडाइँ देखेर हामी युवाहरू वाक्क भइसकेका छौँ। कार्यकर्ताहरू एक अर्काको पक्ष–विपक्षमा लागेर लडिरहेका छन्। अलिकति पनि लाज लाग्दैन ?’

शाहीले पार्टीभित्रको आन्तरिक द्वन्द्व र पदका लागि भइरहेको प्रतिस्पर्धाले कार्यकर्ता तथा युवापुस्तामा निराशा बढेको आरोप लगाएका छन्।

उनले अध्यक्ष लिङ्देनप्रति असन्तुष्टि जनाउँदै भनेका छन्, ‘यतिखेरको समय एक अर्कालाई आरोप लगाएर टुट्ने र फुट्ने होइन, जुट्ने हो। तर तिमीहरूलाई देखेर युवाहरूले के आशा गर्ने ?’

उनले नेताहरूलाई एकताका लागि आह्वान गर्दै भनेका छन्, ‘नेतृत्व भनेको पदमा टाँसिएर बस्ने होइन, आवश्यक पर्दा त्याग गर्न सक्ने क्षमता हो। एउटाले नाटक गरेर विज्ञप्ति निकाल्छन्। अर्कोले भेला गर्दै फुटेर जाने संकेत देखाउँछन्। यदि तिमीहरूको हिम्मत र दम छ भने ल म बस्छु, तपाईंहरू सँग हामी तीनजना सँगै बसौँ। छलफल गरौँ आउनुहोस्, यो होइन भने यो नाटक किन गरिरहेका छौ ? आफैले आफैलाई भलादमी देखाउन ? तिमीहरूको यो खुरापाती राजनीतिक देखेर भगवान् पनि वाक्क भइसके होलान्।’

नेतृत्व तहप्रति आक्रोश व्यक्त गर्दै उनले थप भनेका छन्, ‘एउटालाई देशभरि हार बेहोर्दासम्म नेतृत्व छोड्नै मन छैन, अर्कोलाई चुनावै नलडी नेतृत्व लिनै पर्ने । पदका लागि यति धेरै हानथाप र अहंकार किन ?’

‘१३ दिन हिरासतमा राख्दा पनि मलाई बालेन सरकारले मुद्दा चलाउने आधार भेटेन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन सरकारले आफूलाई पक्राउ गरेपछि १३ दिनसम्म मुद्दा चलाउने आधार खोजे पनि कुनै प्रमाण फेला पार्न नसकेको दाबी गरेका छन्।

ओलीले आफूलाई पक्राउ गर्नु राजनीतिक प्रेरित कदम भएको संकेत गर्दै अन्ततः सरकारले रिहा गर्न बाध्य भएको बताए।

‘मलाई पक्राउ गरियो। १३ दिनसम्म प्रयास गरियो। तर मुद्दा चलाउने ठाउँ भेटिएन। त्यसपछि छोड्न बाध्य भए,’ उनले भने।

ओली १४ चैत २०८२ मा पक्राउ परेका थिए। उनीविरुद्ध फौजदारी कसुर सम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ।

अदालतप्रति सम्मान व्यक्त गर्दै ओलीले न्यायपालिकाबाट निष्पक्ष र स्वच्छ न्यायको अपेक्षा रहेको बताए। उनले न्याय सम्पादनको गुणस्तरबाटै अदालतको प्रतिष्ठा स्थापित हुने धारणा राखे।

‘हामी अदालतलाई सम्मान गर्छौँ। अदालतबाट न्याय पाउनुपर्छ। स्वच्छ न्यायको अपेक्षा गर्छौँ,’ उनले भने।

ओलीले राज्य सञ्चालन र न्याय सम्पादनको प्रक्रियालाई विधिसम्मत, निष्पक्ष र न्यायोचित बनाउन आवश्यक रहेको उल्लेख गर्दै अदालतले तथ्य र प्रमाणका आधारमा निर्णय गर्ने विश्वास व्यक्त गरे।

समस्याग्रस्त २३ सहकारीका सञ्चालकहरूको नाम सार्वजनिक, लुकाइएको सम्पत्तिबारे सूचना दिन आग्रह

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त २३ वटा सहकारी संस्थाका सञ्चालकहरूले लुकाएको सम्पत्तिबारे सूचना दिन सर्वसाधारणसँग अनुरोध गरेको छ।

समितिले ती सहकारीका सञ्चालकहरूको नामसहित विवरण सार्वजनिक गर्दै उनीहरूका परिवार, आफन्त तथा अन्य व्यक्तिका नाममा सम्पत्ति लुकाएको जानकारी भएमा सूचना दिन आग्रह गरेको हो।

समितिले जारी गरेको सूचनामा भनिएको छ, ‘सार्वजनिक भएका सञ्चालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिका नाममा सम्पत्ति वा रकम लुकाएको जानकारी भएमा यस कार्यालयमा सूचना गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ।’

त्यसैगरी, समितिले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालकहरूलाई सम्बन्धित सहकारीको दायित्व फरफारक, ऋण असुली, सम्पत्ति तथा अन्य स्रोतसाधनको पहिचान गरी व्यवस्थापन गर्न तथा नियमित रूपमा समितिसँग सम्पर्कमा रही बचत फिर्ता, दायित्व व्यवस्थापन र नियमन प्रक्रियामा सहयोग गर्न पनि आग्रह गरेको छ।

समितिले सहयोग नगरेमा कानुन बमोजिम आवश्यक कारबाही हुने चेतावनीसमेत दिएको छ।

साथै, सार्वजनिक गरिएको विवरणमा कुनै त्रुटि भएमा वा अद्यावधिक गर्नुपर्ने अवस्था भएमा समितिको कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।

२३ समस्याग्रस्त सहकारी सञ्चालकहरुको विवरण हेर्नुहोस

ओलीले भने- सम्पत्ति विवरण चाहियो भने खरानी उठाएर लैजानुस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्य संयन्त्र पूर्वाग्रह र प्रतिशोधको भावनाबाट सञ्चालित भएको आरोप लगाएका छन्।

उनले विपक्षी राजनीतिक शक्तिलाई लक्षित गरेर विभिन्न गतिविधि भइरहेको दाबी गर्दै त्यस्ता कार्य स्वीकार्य नहुने बताएका छन्।

ओलीले राज्यले निष्पक्ष र कानुनसम्मत ढंगले काम गर्नुपर्ने भए पनि पछिल्ला गतिविधिले प्रतिशोधको मानसिकता झल्काएको बताए। उनले राज्यलाई लोकतान्त्रिक मूल्य र विधिको शासनअनुसार सञ्चालन गर्न आग्रह गरे।

ओलीले कसैसँग अकुत सम्पत्ति रहेको आशंका भए कानुनी प्रक्रियाअनुसार छानबिन गर्न सकिने बताए। तर, पूर्वाग्रह राखेर व्यक्तिलाई लक्षित गरी कारबाही अघि बढाउनु उचित नहुने उनको भनाइ थियो।

सम्पत्ति विवरण मागिएको प्रसंग उल्लेख गर्दै उनले आगजनीका कारण आफ्ना कागजात नष्ट भएको दाबी गरे।

‘आगो लगाएर खरानी बनाएको ठाउँमा मेरो सम्पत्ति विवरण खोजिन्छ। फेरि सम्पत्ति विवरण चाहियो भनिन्छ। त्यही खरानी छ, उठाएर लैजानुस्,’ उनले भने।

उनले सम्पत्ति विवरणको विषयलाई लिएर भइरहेको गतिविधिलाई राजनीतिक प्रतिशोधको रूपमा चित्रण गरे। राज्यका निकायहरू निष्पक्ष, तथ्यमा आधारित र कानुनी सीमाभित्र रहेर काम गर्नुपर्नेमा जोड दिँदै ओलीले प्रतिशोधको भावनाबाट प्रेरित कदमले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने बताए।

चुनाव पूर्वनिर्धारित नतिजाका लागि गराइएको थियो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो निर्वाचन निष्पक्ष नभई पूर्वनिर्धारित परिणाम हासिल गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको दाबी गरेका छन्।

ओलीले चुनावलाई ‘तमासा’ र ‘नाटक’ को संज्ञा दिँदै निर्धारित नतिजा निकाल्नका लागि निर्वाचन गराइएको आरोप लगाए।

उनका अनुसार अन्य राजनीतिक दलले वास्तविक प्रतिस्पर्धात्मक निर्वाचन भइरहेको ठाने पनि परिणाम पहिल्यै तय गरिएको थियो।

‘हामीले पहिलोपटक चुनाव लडेका होइनौँ। पटक-पटक निर्वाचन भोगेका छौँ। उम्मेदवारी खारेज भएको उम्मेदवारले समेत दोब्बर मत प्राप्त गर्ने अवस्था देखियो,’ उनले भने।

निर्वाचनमा प्रयोग गरिएको मसी र मतपत्रबारे पनि प्रश्न उठाउँदै उनले ती विषय छानबिनको दायरामा आउनुपर्ने बताए।

ओलीले परिणामप्रति असन्तुष्टि रहे पनि आफूहरूले निर्वाचनको नतिजा स्वीकार गरेको उल्लेख गरे। उनले एमाले राष्ट्रियता र लोकतन्त्रको पक्षमा संघर्षरत रहेको भन्दै पार्टी अन्धविश्वासमा नभई घटनाक्रमलाई गम्भीरतापूर्वक नियालिरहेको बताए।

उनले त्यसपछिको सरकारले गठन गरेको छानबिन आयोगप्रति पनि असहमति जनाए।

आगजनी, तोडफोड र हिंसात्मक घटनापछि बनेको सरकारले पूर्वाग्रही उद्देश्यका साथ आयोग गठन गरेको आरोप लगाउँदै उनले आयोगको निष्पक्षतामाथि प्रश्न उठाए।

ओलीले आयोगलाई मान्यता नदिने आफ्नो अडान दोहोर्याउँदै आयोगले आफूलाई बयानका लागि प्रश्नावली पठाए पनि त्यसलाई अस्वीकार गरेको बताए। ‘यो आयोग छानबिनका नाममा राजनीतिक प्रतिशोध साँध्न बनाइएको हो भन्ने हाम्रो निष्कर्ष थियो,’ उनले भने।

उनले आयोगले नयाँ शक्तिहरू वा अन्य निकायमाथि अनुसन्धान नगरी पुराना राजनीतिक दलका नेताहरूलाई मात्र लक्षित गरेको आरोप लगाए। आयोगको उद्देश्य सत्यतथ्य खोज्नु नभई निश्चित व्यक्तिलाई दोषी देखाउने रहेको दाबी गर्दै ओलीले त्यस्ता आयोगलाई आफूहरूले स्वीकार नगर्ने बताए।

अराजकताको जगमा बनेको हो बालेन्द्र शाहको सरकार : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको विद्रोह शान्ति, सुशासन र विकासको अभियानलाई अवरुद्ध गर्न योजनाबद्ध रूपमा सञ्चालन गरिएको दाबी गरेका छन्।

उनले उक्त आन्दोलनको मुख्य निशानामा एमाले परेको र पार्टीले सबैभन्दा ठूलो क्षति बेहोरेको बताएका छन्।

काठमाडौंमा बुधबार आयोजित पार्टीको कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै ओलीले आन्दोलनका क्रममा देशभर भय र आतंकको वातावरण सिर्जना गरिएको आरोप लगाए। ‘तेरो घरमा आगो लगाइदिन्छु भन्ने धम्की दिइयो, ठाउँ-ठाउँमा आगजनी भयो, तर राज्य प्रभावकारी रूपमा देखिएन,’ उनले भने।

ओलीले त्यसबेला आपराधिक समूहहरू हाबी भएको र लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित सरकारलाई विस्थापित गरिएको दाबी गरे। उनका अनुसार संवैधानिक सरकार हटाएर असंवैधानिक सरकार गठन गरिएको थियो।

उनले प्रतिनिधिसभा विघटनको प्रक्रियामाथि पनि प्रश्न उठाउँदै संविधानअनुसार सरकारले गरेको सिफारिसलाई बेवास्ता गरी गैरसंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन गरिएको आरोप लगाए।

राजनीतिक दलहरूसँग कुनै सहमति वा परामर्श नगरी सडक आन्दोलनका केही व्यक्तिहरूको दबाबमा निर्णय लिइएको उनको भनाइ थियो।

ओलीले वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार अराजकता र वितण्डाको जगमा बनेको दाबी गरे।

उनले त्यसबेला राजनीतिक दलका नेताहरू अपहरणमा परेको, विरोध गर्ने वातावरण नभएको तथा लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रहार भएको आरोप लगाए।

यद्यपि, प्रतिकूल परिस्थितिका बीच पनि एमालेका नेता–कार्यकर्ताले प्रतिवाद जारी राखेको भन्दै ओलीले पार्टी पंक्तिलाई धन्यवाद दिए। ‘त्यो अराजकताको विरुद्ध आवाज उठाउने काम नेकपा एमालेको अगुवाइमा भयो,’ उनले भने।

विपक्षी दलको आज पनि राष्ट्रियसभा बैठक अवरुद्ध गर्ने तयारी

काठमाडौं। राष्ट्रियसभा बैठकमा विपक्षी दलहरूले आज पनि अवरोध गर्ने तयारी गरेका छन्।

यसअघि सोमबार र मंगलबारको बैठकमा समेत अवरोध गर्दै कार्यसूची अघि बढ्न नदिएका विपक्षी दलहरूले आजको बैठकलाई पनि अवरुद्ध गर्ने योजना बनाएका हुन्।

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रञ्जित कर्णका अनुसार, प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभामा नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने आशयमा दिएको अभिव्यक्ति ‘राष्ट्रघाती’ भएको भन्दै माफी माग्नुपर्ने माग राखिएको छ। सोही माग पूरा नभएसम्म बैठक अवरुद्ध गर्ने अडान विपक्षी दलहरूको रहेको उनले बताएका छन्।

राष्ट्रियसभामा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीसहितका दलहरू अवरोधमा उत्रिने तयारीमा छन्। राष्ट्रियसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भने छैनन्।

आजको बैठकको कार्यसूचीमा आगामी बजेटमाथिको छलफल रहेको छ।

तर विपक्षी अवरोधका कारण कार्यसूची अघि बढ्न सक्ने वा नसक्नेबारे अनिश्चित देखिएको छ।

भदौ २३-२४ को घटना पूर्वनियोजित षड्यन्त्र थियो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको घटनालाई केही पक्षले ‘क्रान्ति’का रूपमा चित्रण गरे पनि त्यो पूर्वनियोजित र आपराधिक गतिविधि भएको दाबी गरेका छन्।

काठमाडौं बुधबार आयोजित पार्टीको दुई दिने कार्यशालामा बोल्दै ओलीले नवयुवकहरूको हत्या हुने परिस्थिति सिर्जना गर्ने गतिविधिलाई क्रान्ति भन्न नसकिने बताए। उनले उक्त घटना आकस्मिक नभई योजनाबद्ध रूपमा सञ्चालन गरिएको जिकिर गरे।

ओलीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले समेत उक्त घटनालाई पूर्वषड्यन्त्र र प्रायोजित घटनाका रूपमा उल्लेख गरेको दाबी गर्दै त्यसले आफ्नो भनाइलाई पुष्टि गर्ने बताए। उनका अनुसार तत्कालीन बहुमतप्राप्त सरकारलाई संवैधानिक प्रक्रियाबाट हटाउन नसकेपछि अवैधानिक र आपराधिक माध्यम प्रयोग गरेर विस्थापित गर्ने प्रयास गरिएको थियो।

उनले आगजनी, पेट्रोल बम निर्माण तथा विभिन्न सरकारी तथा सार्वजनिक संरचनामाथि आक्रमण गर्न प्रशिक्षण दिइएको आरोप पनि लगाए। संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत तथा विभिन्न व्यापारिक संस्थालाई लक्षित गर्दै सूचना वितरण गरिएको उनको भनाइ थियो।

ओलीले लोकप्रिय नेताहरूविरुद्ध झुटा आरोप लगाउने, चरित्र हत्या गर्ने तथा सामाजिक सञ्जालमार्फत असभ्य र अपमानजनक टिप्पणी गर्ने काम समेत योजनाबद्ध रूपमा गरिएको आरोप लगाए। उनले यस्ता गतिविधिले नेपालको सभ्यता र संस्कृतिमाथि आघात पुर्‍याएको बताए।

उनले महिलामाथि समेत सामाजिक सञ्जालमा असभ्य व्यवहार हुने गरेको उल्लेख गर्दै यस्ता गतिविधिप्रति सरकार मौन बसेको आरोप लगाए। ओलीले यस्तो प्रवृत्तिलाई ‘दुष्कर्मको चक्र’को संज्ञा दिँदै सरकार त्यसबाट अलग नरहेको दाबी गरे।

मन्त्रालयको वेबसाइटबाट गायब भएको आर्थिक विधेयकको पुन: १६ पृष्ठ गायब

काठमाडौं । अर्थ मन्त्रालयले वेबसाइटबाट हटाएको आर्थिक विधेयक २०८३ का १६ पृष्ठ गायब भएको विषय सार्वजनिक भएको छ।

मन्त्रालयले संसद्मा पेस गरिएको विधेयकभन्दा फरक संस्करण आफ्नो वेबसाइटमा सार्वजनिक गरेको आरोप लागेको हो।

अर्थमन्त्री स्वर्णिम वाग्लेले जेठ १५ गते संसद्मा आर्थिक विधेयक पेस गरेका थिए। संसद्मा दर्ता भएको उक्त विधेयक ४६४ पृष्ठको रहेको बताइएको छ। तर अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको पछिल्लो संस्करण भने ४४८ पृष्ठको रहेको देखिएको छ।

यसरी १६ पृष्ठ हटाएर नयाँ संस्करण सार्वजनिक गरिएको दाबी गरिएको छ। साथै, संसद्मा पेस गरिएको र वेबसाइटमा प्रकाशित विधेयकबीच करसम्बन्धी व्यवस्थामा समेत फरक देखिएको आरोप छ।

संसदीय अभ्यासअनुसार संसद्मा दर्ता भइसकेको विधेयक संशोधन गर्न संसद्को स्वीकृति आवश्यक पर्ने जानकारहरू बताउँछन्। संसद् सचिवालयका पूर्वसचिव सोमबहादुर थापाका अनुसार संसद्मा पेस भइसकेको विधेयकका प्रावधान सच्याउन वा परिवर्तन गर्न संसद्मै संशोधन प्रस्ताव लैजानुपर्छ।

उनले संसद्को स्वीकृतिबिना मन्त्रालयले एकतर्फी रूपमा विधेयकमा परिवर्तन गर्न नमिल्ने बताए। विशेषगरी करका दर वा करसम्बन्धी व्यवस्थामा हेरफेर भएको भए त्यो झन् गम्भीर विषय हुने उनको भनाइ छ।

यस विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अध्ययन गरिरहेको जनाएको छ। कांग्रेसकी प्रमुख सचेतक बासना थापाले संसद्मा दर्ता भइसकेको विधेयकमा मन्त्रालयले आफूखुसी परिवर्तन गरेको भए त्यो आर्थिक अपराध वा किर्तेसँग सम्बन्धित विषय हुन सक्ने प्रारम्भिक निष्कर्ष रहेको बताएकी छन्।

उनले संसद्लाई छलेर करका दरमा हेरफेर गरिएको आशंका व्यक्त गर्दै यस विषयलाई संसद्मा उठाइने जानकारी दिएकी छन्। कांग्रेसले आधिकारिक अध्ययनपछि थप धारणा सार्वजनिक गर्ने जनाएको छ।

यदि संसद्मा दर्ता भएको विधेयक र मन्त्रालयले सार्वजनिक गरेको संस्करणबीच वास्तवमै फरक रहेको पुष्टि भएमा यो विषय कानुनी, संसदीय र राजनीतिक रूपमा गम्भीर बहसको केन्द्र बन्न सक्ने देखिएको छ।

गत शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेपछि अर्थ मन्त्रालयले आर्थिक विधेयक आफ्नो वेबसाइटमा अपलोड गरेको थियो। उक्त विधेयक शनिबार दिउँसो मन्त्रालयले हटाएको थियो।

आर्थिक विधेयकमा करसम्बन्धी कानुनहरू संशोधन गरी नयाँ दरहरू समावेश गरिएको हुन्छ।

विद्युतीय सवारीसाधनको करदरमा त्रुटि देखिएपछि मन्त्रालयले उक्त विधेयक आफ्नो वेबसाइटबाट हटाएको जनाएको थियो।

एमाले नयाँ ढंगले उठ्ने विष्णु पौडेलको दाबी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीलाई नयाँ ढंगले पुनर्गठन गरेर अघि बढाइने बताएका छन्।

उनले पार्टीलाई थप सुदृढ बनाउने दृढता आवश्यक रहेको भन्दै सम्पूर्ण पार्टीपंक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरे।

पार्टीको दुई दिने कार्यशाला गोष्ठीलाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै उनले एमालेले पछिल्लो निर्वाचनमा अपेक्षाअनुसार परिणाम हासिल गर्न नसकेको स्वीकार गर्दै त्यसलाई स्थायी पराजय नभई अस्थायी असफलताका रूपमा लिएको बताए।

उनले पार्टीले निर्वाचन परिणामको गम्भीर समीक्षा गरिरहेको उल्लेख गरे। ‘हामीले नयाँ ढंगले पार्टीलाई उठाउँछौँ। त्यो दृढता बोकेर अगाडि बढ्नुपर्छ। यसका लागि यस्ता कार्यशालाहरू उपयोगी हुन्छन्,’ उनले भने।

पौडेलका अनुसार निर्वाचनपछि पार्टी सचिवालय बैठक बसेर पराजयका कारणहरूको विस्तृत समीक्षा गरिएको छ।

बैठकले निर्वाचनमा पार्टीले किन अपेक्षित सफलता हासिल गर्न सकेन, त्यसका आन्तरिक र बाह्य कारणहरू के थिए भन्ने विषयमा गहन छलफल गरेको उनले बताए।

उनले सचिवालय बैठकले पार्टी अहिलेको अवस्थामै अगाडि बढ्न नसक्ने निष्कर्ष निकाल्दै पुनर्गठनको प्रक्रिया अघि बढाउने निर्णय गरेको जानकारी दिए। त्यसका लागि निर्वाचनको समीक्षा गर्ने तथा संगठनात्मक पुनर्गठनका प्रस्ताव तयार पार्ने जिम्मेवारीसहित कार्यदलसमेत गठन गरिएको उनले बताए।

पौडेलले पार्टीलाई समयानुकूल ढंगले रूपान्तरण गर्दै आगामी दिनमा अझ सशक्त रूपमा जनतामाझ प्रस्तुत गर्ने लक्ष्य रहेको उल्लेख गरे।

निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए एमाले अध्यक्ष ओली [तस्वीरहरू]

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।

अध्यक्ष ओली बुधबार नेकपा (एमाले)ले आयोजना गरेको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशालामा सहभागी भएका हुन् ।

पार्टी छोड्दै निनाचन्द्रले भने – ‘धरानको मेयर उठाउँछु भनेर हर्क साम्पाङले ढाँटे’

काठमाडौं। हर्क साम्पाङका निकट सहयोगी निनाचन्द्र राईले श्रम संस्कृति पार्टी परित्याग गरेका छन्।

धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत राईले आजदेखि पार्टी र हर्क साम्पाङसँग आफ्नो कुनै सम्बन्ध नरहेको घोषणा गरेका हुन्।

उनले आफूसँगै १०० भन्दा बढी व्यक्तिले पनि पार्टी छाडेको दाबी गरेका छन्।

धरान उपमहानगरपालिकाको मेयर निर्वाचनमा हर्क साम्पाङलाई जिताउन सक्रिय भूमिका खेलेका राईले आफूलाई भावी मेयर उम्मेदवार बनाउने आश्वासन दिइए पनि पछि धोका दिइएको आरोप लगाए।

उनका अनुसार पार्टी प्रवेश गराउँदा हर्क साम्पाङले आफूलाई धरानको आगामी मेयर उम्मेदवार बनाउने प्रतिबद्धता जनाएका थिए। तर पछि धनबहादुर राईलाई अघि सारेपछि आफू असन्तुष्ट बनेको उनले बताए।

‘उहाँले मलाई नै मेयरको उम्मेदवार तपाईं नै हो भन्नुभएको थियो। अहिले आएर अर्कै व्यक्तिलाई अघि सार्नुभयो,’ राईले पत्रकार सम्मेलनमा भने।

हर्क साम्पाङ स्वतन्त्र उम्मेदवारका रूपमा धरानको मेयर निर्वाचित हुँदा निनाचन्द्र राई अभियानमा सक्रिय थिए। पार्टी गठनपछि केही समय स्वतन्त्र रहे पनि गत वैशाखमा उनी श्रम संस्कृति पार्टीमा आबद्ध भएका थिए।

राईले पार्टीमा प्रवेश गराउँदा मेयर बनाउने आश्वासन दिइएको दाबी गर्दै अहिले नेतृत्वले आफ्ना प्रतिबद्धता पूरा नगरेको आरोप लगाएका छन्।

यता, श्रम संस्कृति पार्टीले भने यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

बालेनको बोलीपछि रविलाई भारतमा राजकीय सम्मान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला भारत भ्रमणमा छन्। उनी भारतीय जनता पार्टीको निमन्त्रणामा भारत पुगेका हुन्।

यता नेपालमा भने एउटा पार्टी सभापतिको हैसियतले दिल्ली पुगेका लामिछानेको भव्य स्वागतभित्र भारतका विभिन्न स्वार्थ रहेको चर्चा भइरहेका छन्। बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि नेपाल-भारत सम्बन्ध बिग्रिएको चर्चा पनि हुँदै आएको छ।

यहीबीच गत जेठ १७ गते प्रधानमन्त्री शाहले संसदको रोष्ट्रम प्रयोग गर्दै एउटा निकै नै विवादास्पद अभिव्यक्ति दिए, ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ।’ उनले त्यति मात्रै भनेनन्, नचाहिँदो ढंगले बेलायत सरकारलाई समेत नेपाल-भारत सीमा विवादमा जोडे। दुई सार्वभौमसत्ता सम्पन्न देशको सीमा विवादमा उनले तेस्रो पक्ष (बेलायत) लाई किन जोडेका होलान् ? उनको यो अभिव्यक्तिपछि सभापति लामिछानेको भारत भ्रमण सहज बनेको विश्लेषण पनि भइरहेका छन्।

विगत लामो समयदेखि नेपाल-भारतबीच लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका ठाउँहरूमा सीमा विवाद रहँदै आएको छ। रोचक कुरा के भने ती ठाउँहरूमा पनि नेपालको मात्रै दाबी छ। भारतले अहिलेसम्म हाम्रो भूमि मिचियो भनेर कुनै औपचारिक मञ्चमा यो विषय उजागर गरेको छैन। तर, प्रधानमन्त्री शाहले भने उक्त कुरा उजागर गरिदिए।

यसले लिपुलेक, लिम्पियाधुरा, कालापानी, सुस्ता लगायतको भूमि हाम्रो हो भन्ने दाबीलाई कतै कमजोर त बनाएन ? अथवा हामीले पनि मिचेका छौँ भन्ने कुराको अर्थ बराबर भयो भन्ने त होइन ? महानगरको मेयर हुँदा कुर्सीको पछाडि ग्रेटर नेपालको नक्सा राख्ने प्रधानमन्त्रीले यो कमजोर दाबी प्रस्तुत गर्नुको तात्पर्य के होला ? उता भाजपाले लामिछानेको स्वागत मात्रै गरेन, पुष्पवृष्टि समेत गर्‍यो।

लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकर लगायतका उच्चपदस्थ व्यक्तिहरूलाई भेट्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहलाई औपचारिक भ्रमणको निम्तो समेत नदिएको भारतले रास्वपा पार्टी सभापतिलाई यत्रो महत्व दिनुको पछाडि के होला ? कि उनको भारत भ्रमण सजिलो बनाउनकै लागि प्रधानमन्त्रीले सार्वभौमसत्ता सम्पन्न संसदबाट हामीले जमिन मिचेका छौँ भनेका हुन् ? कि भारतले लामिछानेलाई प्रधानमन्त्री चाहन्छ ? यी यावत् प्रश्न र शंकाको घेरामा बसेर लामिछाने भारत पुगेका छन्।

यता प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि संसद चल्न सकेको छैन। विपक्षीहरूले शाहको अभिव्यक्ति सार्वभौमसत्ताको विरुद्धमा रहेको भन्दै संसदकै रोष्ट्रमबाट माफी माग्नुपर्ने बताइरहेका छन्। शाहको यो अभिव्यक्तिले पुरै देश तरंगित बनेको छ। नागरिक समाजले उनीमाथि नेपालले दाबी गरेका ठाउँहरू भारतलाई दिन खोजेको आरोप लगाइरहेको छ।

उता भारतले यसअघि नै कालापानी-लिपुलेकमा मानसरोवर तीर्थयात्राका लागि बाटो खोल्ने काम तीव्र रूपमा अगाडि बढाइरहेको छ। त्यहाँ भारतीय सैनिक क्याम्पहरू खडा छन्। सुस्तामा भारतको सीमा सुरक्षा बल (एसएसबी) ले कब्जा गरिसकेको अवस्था छ। यस्तो अवस्थामा शाहले दिएको उक्त अभिव्यक्तिले नेपालका दाबीहरू कमजोर अवस्थामा त पुगेका होइनन् भन्ने प्रश्न जन्माएको छ।

प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनका क्रममा सीमा विवादमा तेस्रो पक्ष बेलायतलाई पनि जोडे।

तर भारतले बेलायती संलग्नतालाई अस्वीकार गरेको छ। आज सभापति लामिछानेको भ्रमणको अवसरमा भारतीय विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा रणधीर जैसवालले नेपाल-भारतको द्विपक्षीय विषयमा तेस्रो पक्षको संलग्नता स्वीकार नहुने जिकिर गरे। ‘सम्बन्धित सबै पक्षले स्पष्ट रूपमा बुझ्नुपर्छ कि भारत र नेपालबीचको द्विपक्षीय विषयमा कुनै तेस्रो पक्षको भूमिका हुँदैन,’ उनले भनेका छन्।

बालेन्द्रले किन जोडे बेलायतलाई ?

सन् १८१४ मा नेपाल र तत्कालीन ब्रिटिस इन्डियाबीच सुरु भएको एंग्लो-नेपाल युद्ध करिब डेढ वर्षसम्म चलेपछि सन् १८१५ डिसेम्बर २ मा भएको सुगौली सन्धिमार्फत अन्त्य भएको थियो। भारतको सुगौलीमा हस्ताक्षर गरिएको उक्त सन्धिलाई नेपालले सन् १८१६ मार्च ५ मा औपचारिक रूपमा अनुमोदन गरेको थियो। यही सन्धिले नेपालको आधुनिक सीमाको आधार तय गरेको मानिन्छ।

सुगौली सन्धिपछि नेपालले युद्धअघि विस्तार गरेको करिब एकतिहाइ भूभाग गुमायो। महाकाली नदीपश्चिम, मेचीपूर्व तथा तराईका विस्तृत भूभाग ब्रिटिस इन्डियाको नियन्त्रणमा पुगे। अहिले ‘ग्रेटर नेपाल’ को अवधारणामा समेटिने अधिकांश भूभाग नेपालले यही सन्धिपछि गुमाएको इतिहासमा उल्लेख छ।

यद्यपि, युद्ध समाप्त भएको केही समयपछि ब्रिटिस इन्डियाले कोशीदेखि राप्तीसम्मका केही तराई क्षेत्र नेपाललाई फिर्ता गरेको थियो। त्यसअन्तर्गत चितवन, पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरीका भूभाग समावेश थिए। पछि जंगबहादुर राणाको पालामा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पनि नेपाललाई फिर्ता प्राप्त भए।

नेपाल–भारत सीमा विवादको केन्द्रमा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुराको विषय पनि यही सुगौली सन्धिसँग जोडिएको छ। सन्धिमा ‘काली नदीको पश्चिममा पर्ने भूभाग नेपालले त्याग्ने’ उल्लेख भए पनि काली नदीको वास्तविक मुहान कहाँ हो भन्ने स्पष्ट गरिएको थिएन। यही अस्पष्टताले पछि सीमा विवादको रूप लिएको हो।

नेपालले लिम्पियाधुराबाट निस्कने नदीलाई वास्तविक काली नदी मान्दै आएको छ। यसको आधार तत्कालीन इस्ट इन्डिया कम्पनीले सन् १८१६ पछि जारी गरेका नक्साहरू, ऐतिहासिक दस्तावेज तथा विभिन्न इतिहासकार र नापी विज्ञहरूको अध्ययनलाई बनाइएको छ। नेपालले यही आधारमा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो भूभाग दाबी गर्दै नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो।

भारतले भने यो दाबी स्वीकार गरेको छैन। भारतीय पक्षले सन् १८५० को दशकपछि तयार गरिएका बेलायती नक्सालाई आधार मान्दै लिपुलेक नजिकको लिपु खोलालाई काली नदीको मुहान मानेको छ। यही कारण दुवै देशबीच सीमा विवाद अझै समाधान हुन सकेको छैन।

अधिकारीहरूका अनुसार विवाद समाधानका लागि बेलायतसँग सुगौली सन्धिको सक्कल प्रति, तत्कालीन आधिकारिक नक्सा तथा नेपाल र इस्ट इन्डिया कम्पनीबीच भएका पत्राचारका अभिलेख माग्नुपर्ने आवश्यकता देखिएको छ। ती ऐतिहासिक प्रमाणहरूले काली नदीको वास्तविक उद्गमस्थल र सीमाको अवस्थाबारे थप स्पष्टता दिन सक्ने विश्वास गरिएको छ।

संसद्को झण्डासहित सगरमाथा आरोहण गरेका सांसद शेर्पा सम्मानित

काठमाडौं।  प्रतिनिधिसभा सदस्य मिङमा ग्याबु शेर्पा लाई सङ्घीय संसद्को झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेको अवसरमा सम्मान गरिएको छ।
सङ्घीय संसद् सचिवालयमा आयोजित विशेष कार्यक्रममा सांसद शेर्पालाई सभामुख डीपी अर्याल तथा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन्।
सम्मानित भएपछि सांसद मिङमा ग्याबु शेर्पाले सगरमाथा आरोहण केवल व्यक्तिगत उपलब्धि नभई नेपाली जनताको प्रतिनिधित्व गर्ने संसद्को प्रतिष्ठासँग जोडिएको अभियान भएको बताएका छन् ।
उनले सगरमाथाको शिखरमा सङ्घीय संसद्को झण्डा फहराउन पाउँदा आफूलाई गर्व महसुस भएको उल्लेख गरेका छन् ।

तस्वीरहरू:

भाजपा अध्यक्ष नवीनसँग रविको भेटवार्ता, के भयो कुरा ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नितिन नवीनबीच राजनीतिमा ‘जेन-जेड’ पुस्ताको बढ्दो भूमिका र सम्भावनाबारे छलफल भएको छ।

मंगलबार भारतीय जनता पार्टीको मुख्यालयमा भएको भेटवार्तामा लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकाबारे विचार आदानप्रदान भएको जनाइएको छ।

भारत भ्रमणमा रहेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा अध्यक्ष नवीनसहित पार्टीका वरिष्ठ नेताहरूसँग भेटवार्ता गरेको हो।

भेटका क्रममा अध्यक्ष नवीनले साझा सभ्यतागत विरासत, सांस्कृतिक सम्बन्ध तथा जनस्तरमा आधारित भारत-नेपाल सम्बन्धको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गरेका थिए। उनले यस्ता संवादले लोकतान्त्रिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै दुई दलबीचको सहकार्यलाई अझ प्रगाढ बनाउन सहयोग पुग्ने बताए।

नवीनले भाजपा पार्टीको यात्रा, विचारधारा, संगठनात्मक संरचना तथा जनमुखी राजनीतिक सहभागितासम्बन्धी दृष्टिकोणबारे पनि जानकारी गराएका थिए।

भेटवार्ताका क्रममा रास्वपा प्रतिनिधिमण्डलले भाजपा सदस्यता प्रक्रिया, उम्मेदवार छनोट प्रणाली तथा तल्लो तहका कार्यकर्तासँग सम्पर्क विस्तार गर्ने संयन्त्रबारे चासो व्यक्त गरेको थियो। साथै अध्यक्ष नवीनले नरेन्द्र मोदी नेतृत्वको विकासमुखी सुशासन मोडेलबारे चर्चा गर्दै विकास, सेवा, सुशासन र कल्याणकारी कार्यक्रमहरू सरकारको प्राथमिकतामा रहेको बताएका थिए।

उक्त भेटमा भाजपा राष्ट्रिय महामन्त्री अरुण सिंह, सांसद सञ्जय जयसवाल, सांसद बाँसुरी स्वराज तथा भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले समेत सहभागी थिए।

रास्वपा प्रतिनिधिमण्डलले भाजपा मुख्यालयस्थित मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको समेत अवलोकन गरेको थियो। भेटपछिको दिवाभोज कार्यक्रममा रेखा गुप्तालगायत नेताहरूको सहभागिता रहेको बताइएको छ।

भाजपाको निमन्त्रणामा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल पाँचदिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली पुगेको हो। प्रतिनिधिमण्डलमा निकिता पौडेल, सांसद विपिनकुमार आचार्य, सांसद दीपक बोहरा तथा स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।

सभापति लामिछाने र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका विदेशमन्त्री एस जयशंकर बीच मंगलबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ।

भारत भ्रमणमा रहेका लामिछानेले जयशंकरसँग शिष्टाचार भेट गर्दै नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा छलफल गरेका हुन्।

भेटबारे जानकारी दिँदै जयशंकरले सामाजिक सञ्जालमार्फत विकास साझेदारी र दुई देशका नागरिकबीचको सम्बन्धबारे अर्थपूर्ण संवाद भएको बताएका छन्। उनले नेपाल र भारतबीचको जनस्तरको सम्बन्धले विकास, प्रगति र समृद्धिलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन्।

जयशंकरले लेखेका छन्, ‘आज दिल्लीमा नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उहाँको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लाग्यो। हाम्रो छलफल विकास साझेदारी र जनता–जनताबीचको सम्बन्धमा केन्द्रित थियो। यी सम्बन्धहरूले विकास, प्रगति र समृद्धिलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्‍याउँछन्।’

रास्वपा सभापति लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा रहेका छन्। भ्रमणका क्रममा उनले भारतीय राजनीतिक नेतृत्व तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।

बालेनले सीमाविवादमा बेलायतलाई तान्न खोजेपछि भारतले भन्यो ‘तेस्रो पक्ष स्वीकार्य छैन’ [भिडियो]

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आइतबार प्रतिनिधिसभा बैठकमा  ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि देशको राजनीतिक र कुटनीतिक अवस्था तनावपूर्ण बनेको छ।

उक्त अभिव्यक्तिलाई लिएर संसद् लगातार अवरुद्ध हुनुका साथै सडक प्रदर्शन, सीमा क्षेत्रमा विवाद र राजनीतिक आरोप-प्रत्यारोप तीव्र बनेका छन्।

प्रधानमन्त्री बालेनले लिपुलेक, लिम्पियाधुरा सीमा विवादबारे नेपालले बेलायत सरकारसँग पनि कुराकानी भइरहेको छ भनेपछि भारतले नेपाल-भारतबीचको द्विपक्षीय विषयमा तेस्रो पक्षको संलग्नता स्वीकार्य नहुने स्पष्ट धारणा सार्वजनिक गरेको छ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणमा रहेका छन्। भारतको सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा दिल्ली पुगेका हुन्।

यहिबेला प्रधानमन्त्री  शाहले नेपाल-भारत सीमा विवाद समाधानमा बेलायतको भूमिका हुन सक्ने संकेत गरेको अभिव्यक्तिप्रति लक्षित गर्दै भारतको विदेश मन्त्रालयले यस्तो प्रतिक्रिया जनाएको हो। मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै उक्त धारणा व्यक्त गरेका हुन्।

उनका अनुसार भारत-नेपालबीचका सबै सीमा तथा द्विपक्षीय विषयहरू समाधानका लागि आवश्यक संयन्त्रहरू पहिले नै स्थापना भइसकेका छन् र समाधान द्विपक्षीय ढाँचामै हुनुपर्नेमा भारतको अडान छ।

‘भारत र नेपालबीचका द्विपक्षीय विषयमा कुनै तेस्रो पक्षको भूमिका स्वीकार्य हुँदैन,’ प्रवक्ता जैसवालले भने। उनले नेपालका प्रधानमन्त्रीले संसदमा दिएका अभिव्यक्ति र त्यसपछि नेपाल परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यबारे भारतले ध्यान दिएको पनि उल्लेख गरे।

उनका अनुसार भारत–नेपाल सीमाको करिब ९८ प्रतिशत भाग पहिले नै सीमांकन भइसकेको भए पनि केही खण्डहरू अझै बाँकी छन्। गण्डक नदीको बहाव परिवर्तनका कारण केही स्थानमा सीमा समस्या देखिएको उनको भनाइ छ।

त्यस्तै, सीमांकन भइसकेका क्षेत्रमा सीमापार कब्जा तथा दजगजामा अतिक्रमणका केही घटना देखिएको र त्यसबारे दुवै पक्षले संयुक्त रूपमा अध्ययन तथा नक्साङ्कन गरिरहेको पनि उनले जानकारी दिए।

प्रधानमन्त्री शाहले संसदमा दिएको अभिव्यक्तिपछि नेपालभित्र राजनीतिक विवाद चुलिएको छ। विपक्षी दलहरूले माफी माग्नुपर्ने माग गर्दै संसद अवरुद्ध गरेका छन् भने सडकमा पनि विरोध प्रदर्शन भइरहेका छन्।

सीमा विवाद र कूटनीतिक संवेदनशीलताबारे प्रधानमन्त्रीको भनाइले बहस चुलिएको अवस्थामा भारतको यो कडा प्रतिक्रिया सार्वजनिक भएको हो।

भिडियो:

बालेनको बचाउ गर्दै बुर्लाकोटीले राखे सीमाविवादप्रति पार्टीको धारणा [भिडियो]

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले सीमासम्बन्धी विषयमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले उपयुक्त समयमा दिने बताएका छन्।

संसद् भवन सिंहदरबारमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले विपक्षी दलहरूले उठाएका विषयमा प्रधानमन्त्री स्वयंले स्पष्ट धारणा सार्वजनिक गर्ने बताएका हुन्।

उनका अनुसार विपक्षी दलहरूसँग भएको छलफलमा पनि यसबारे जानकारी गराइएको थियो। तर सदनको अवरोध हटाउन विपक्षीहरू तयार नभएपछि प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित गरिएको हो।

बुर्लाकोटीले आगामी दिनमा राजनीतिक संवाद र छलफललाई निरन्तरता दिइने उल्लेख गर्दै जेठ २५ गते बस्ने प्रतिनिधिसभा बैठकसम्म अवरोध हट्ने विश्वास व्यक्त गरे।

सीमासम्बन्धी विषयमा रास्वपाको धारणा स्पष्ट रहेको उल्लेख गर्दै उनले दसगजा क्षेत्रमा दुवै देशका नागरिकको भूउपयोग भइरहेको देखिएकाले सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताए।

साथै भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता हुनुपर्छ भन्ने पार्टीको अडान यथावत रहेको पनि उनको भनाइ छ।

उनले आगामी बैठकमा बजेटमाथिको छलफललाई प्राथमिकता दिँदै निर्धारित समयमै बजेट पारित गर्ने गरी विपक्षी दलहरूसँग समझदारी बनेको जानकारी पनि दिएका छन्।

भिडियो:

कांग्रेसले संसदीय समितिहरूकाे बैठक बहिष्कार गर्ने

काठमाडौं । नेपाली कांग्रेसले संसद् अवरोधलाई थप कडा बनाउँदै संसदीय समितिहरूका बैठकसमेत बहिष्कार गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसदमा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर कांग्रेसले निरन्तर विरोध गरिरहेको बेला अब समितिस्तरका गतिविधिमा पनि सहभागी नहुने रणनीति अपनाएको हो।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार प्रधानमन्त्री शाहले संसदमा उपस्थित भएर आफ्नो अभिव्यक्तिप्रति माफी नमागेसम्म पार्टीले संसदीय समितिका कुनै पनि बैठकमा सहभागिता जनाउने छैन। उनले यही जेठ २५ गतेसम्म समितिका बैठक बहिष्कार गर्ने निर्णय गरिएको जानकारी दिए।

गत आइतबार प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइलाई लिएर प्रमुख प्रतिपक्षी दल कांग्रेसले कडा आपत्ति जनाउँदै आएको छ। कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित र नेपालको स्थापित कूटनीतिक अडानविपरीत रहेको दाबी गर्दै सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग राखेको छ।

यस विषयलाई लिएर कांग्रेसले लगातार संसद् अवरोध गरिरहेको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठक पनि विपक्षी दलहरूको नाराबाजी र अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो।

कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिको विषय मात्र नभई हालै प्रतिनिधिसभाबाट पारित नियमावली संशोधनप्रति पनि असन्तुष्टि जनाएको छ। सांसदलाई कानुनभन्दा माथि राख्ने गरी नियमावली जबर्जस्ती पारित गरिएको आरोप लगाउँदै कांग्रेसले त्यसको पनि विरोध गरिरहेको छ।

कांग्रेसको समितिहरू बहिष्कार गर्ने निर्णयसँगै संसद् र संसदीय गतिविधिमा थप राजनीतिक तनाव बढ्ने संकेत देखिएको छ। अब जेठ २५ गते बस्ने प्रतिनिधिसभा बैठकअघि सरकार र प्रमुख प्रतिपक्षबीच सहमति जुट्छ वा विवाद अझ गहिरिन्छ भन्ने चासो बढेको छ।

बिहान पक्राउ परेका मेयर दिउँसो धरौटीमा रिहा

पर्सा । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले उनीविरुद्ध परेको मुद्दामा सुनुवाइ गर्दै धरौटी माग गर्ने आदेश दिएको हो।

अदालतका अनुसार सिंहविरुद्ध दर्ता भएका दुई वटा कसुरमध्ये लिखत किर्ते सम्बन्धी मुद्दामा ४ लाख रुपैयाँ र झुट्टा विवरण पेस गरेको मुद्दामा १५ हजार रुपैयाँ धरौटी तोकिएको छ।

उनी मंगलबार बिहान सवा ६ बजे ठोरीबाट पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

सिंहविरुद्ध १२ जेठमा लिखत किर्ते गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको थियो। स्थानीय लियाकत अलीले मेयरसहित तीन जनाविरुद्ध उजुरी दिएका थिए।

त्यसपछि प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो।

२ घण्टा ढिलो बसेको संसद बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित [तस्वीरहरू]

काठमाडौं। प्रतिनिधिसभा बैठक मंगलवार कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ।

विपक्षी दलहरूको निरन्तर अवरोधका कारण बैठक अघि बढ्न नसकेको हो।

बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको हालैको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सदन अवरुद्ध गरेका थिए। उनीहरूले प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग राखेका थिए।

प्रधानमन्त्री शाहले जेठ १७ गते संसदमा ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिएको विषयलाई लिएर राजनीतिक दलहरूबीच तीव्र विवाद उत्पन्न भएको छ।

विपक्षी दलहरूले उक्त भनाइलाई अस्वीकार्य, असंवेदनशील र कूटनीतिक रूपमा जोखिमपूर्ण भन्दै तत्काल स्पष्टीकरण र माफीको माग गरेका छन्।

अवरोध जारी रहँदा सदन नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन र अन्ततः बैठक स्थगित गरिएको सभामुखले जानकारी दिएका छन्। यससँगै प्रतिनिधिसभाको अर्को बैठक आगामी २५ गतेका लागि तय गरिएको छ।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि संसदमा उत्पन्न विवादले राजनीतिक तनाव बढाएको छ।

साथै, सीमा तथा कूटनीतिक संवेदनशीलतासम्बन्धी विषयमा नयाँ बहससमेत सुरु भएको छ।

तस्वीरहरू:

चर्चित अभिनेत्री ‘करिश्मा’ ४२ वर्षको उमेरमा आमा बन्दै

एजेन्सी। बलिउडकी चर्चित अभिनेत्री करिश्मा तन्ना छिट्टै मातृत्वको नयाँ अध्यायमा प्रवेश गर्न लागेकी छिन्।

लामो समयदेखि फिल्म र टेलिभिजनमा सक्रिय रहेकी उनी अहिले जीवनको यो विशेष चरणलाई लिएर निकै उत्साहित देखिएकी छिन्।

४२ वर्षीया तन्ना हाल गर्भावस्थाको अन्तिम चरणमा रहेकी छिन् र सामाजिक सञ्जालमार्फत आफ्ना दैनिक पलहरू फ्यानहरूसँग निरन्तर सेयर गरिरहेकी छिन्। हालै सार्वजनिक गरेका तस्बिरहरूमा उनी बेबी बम्प फ्लन्ट गर्दै आत्मविश्वासपूर्ण शैलीमा देखिएकी छिन्।

तस्बिरहरूमा उनी विभिन्न स्टाइलमा प्रस्तुत भएकी छिन्। सटल र ग्लोइङ मेकअपसहित खुला कपालमा देखिएकी करिश्मा अझ आकर्षक देखिएकी छिन्, जहाँ उनको प्रेग्नेन्सी ग्लो स्पष्ट झल्किन्छ। उनका तस्बिरहरूले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएका छन्।

फ्यानहरूले उनलाई शुभकामना दिँदै प्रशंसा गरेका छन्। साथै अभिनेत्री दलजीत कौरले पनि हार्ट इमोजीसहित ‘भगवानले आशीर्वाद दिऊन् मेरी जान’ भन्दै शुभकामना व्यक्त गरेकी छिन्।
करिश्माले सन् २०२२ मा लामो समयका प्रेमी वरुण बंगेरासँग विवाह गरेकी थिइन्।

विवाहको करिब चार वर्षपछि उनी पहिलो सन्तानको प्रतीक्षामा छिन्। उनको डेलिभरी अगस्त २०२६ मा हुने बताइएको छ।

करियरको कुरा गर्दा करिश्माले सन् २००१ मा टेलिभिजन सिरियल ‘क्यूँ कि सास भी कभी बहु थी’ बाट अभिनय यात्रा सुरु गरेकी थिइन्। त्यसपछि ‘कहिँ तो मिलेंगे’, ‘कुसुम’, ‘शरारत’ लगायत दर्जनौँ धारावाहिकमा अभिनय गरेकी उनले सन् २००५ मा फिल्म ‘दोस्ती’ मार्फत बलिउडमा डेब्यू गरेकी थिइन्।

त्यसपछि उनी ‘ग्रान्ड मस्ती’, ‘सञ्जु’, ‘सूरज पे मंगल भारी’ लगायत फिल्महरूमा देखिएकी छिन्।

पछिल्ला केही वर्षयता भने उनी अभिनयबाट केही दूरीमा रहेकी छिन्।

उजुरी परेपछि रास्वपाको अधिवेशन स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बागमती र मधेस प्रदेशका विभिन्न स्थानीय तह तथा वडाहरूमा हुने पार्टीको निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगको मंगलबार बसेको बैठकले प्राप्त उजुरी तथा उत्पन्न विवादका कारण छानबिन आवश्यक देखिएकाले निर्वाचन प्रक्रिया हाललाई रोकिएको जनाएको हो।

आयोगका प्रमुख भुवन केसीद्वारा जारी पत्रअनुसार बागमती प्रदेशअन्तर्गत सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका तथा अन्य विवादित स्थानीय तह र वडाहरूमा निर्वाचन स्थगित गरिएको छ।

त्यस्तै मधेस प्रदेशका सप्तरी र सिराहा जिल्लाका विभिन्न स्थानीय तह, महोत्तरीका जलेश्वर, एकडारा, मतिहानी, मनरा शिसवा, पिपरा गाउँपालिका लगायतका क्षेत्रहरूमा पनि निर्वाचन प्रक्रिया रोकिएको छ। धनुषाका जनकपुर उपमहानगरपालिका, जनकनन्दिनी गाउँपालिका, गणेशमान चारनाथ नगरपालिका तथा सर्लाहीको हरिपूर्वा नगरपालिकामा समेत प्रक्रिया स्थगित गरिएको छ।

letter-EC-

आयोगले विवाद समाधानपछि मात्र सम्बन्धित क्षेत्रका निर्वाचन प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ। साथै, निर्देशन विपरीत कुनै गतिविधि गरेमा त्यसलाई आधिकारिक मान्यता नदिने चेतावनीसमेत दिइएको छ।

आयोगका अनुसार पार्टीभित्रको निर्वाचनलाई निष्पक्ष, लोकतान्त्रिक र व्यवस्थित बनाउन छानबिन पूरा नभएसम्मका लागि यो निर्णय गरिएको हो।

अन्य क्षेत्रमा भने निर्वाचन प्रक्रिया यथावत सञ्चालन हुने जनाइएको छ।

सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवनमा रोक

काठमाडौं। सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन काभ्रेपलाञ्चोकका स्थानीय तहलाई कडा निर्देशन दिइएको छ।

स्थानीय जनप्रतिनिधिसहित सोमबार बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले नेपाल सरकारको विद्यमान कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको हो।

समितिले सार्वजनिक स्थल वरपर १०० मिटरभित्र सुर्तीजन्य पदार्थको बिक्री तथा सेवन पूर्ण रूपमा रोक्न तत्काल अनुगमन गर्न पनि आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार शिक्षण संस्था, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालयलगायत सार्वजनिक स्थल वरिपरि सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न नपाइने कानुनी व्यवस्था रहेको छ।

उनले सो व्यवस्था कार्यान्वयनका लागि स्थानीय तहलाई औपचारिक पत्राचार गरिएको जानकारी दिए।

यसैबीच, बेथानचोक गाउँपालिकाले पनि आफ्नो क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री-वितरण र प्रयोगमा कडाइ गर्ने निर्णय गरेको छ। गाउँपालिकाले जारी गरेको सूचनामा सार्वजनिक तथा संवेदनशील क्षेत्र वरिपरि सुर्तीजन्य पदार्थ निषेध गर्ने कानुन कडाइका साथ लागू गरिने उल्लेख छ।

गाउँपालिकाले व्यापारी, व्यवसायी तथा सर्वसाधारणलाई नियम पालना गर्न आग्रह गर्दै उल्लंघन भएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।

नेतन्याहुलाई फोन गरेर किन थर्काए ट्रम्पले ?

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई फोनमार्फत कडा शब्दमा असन्तुष्टि व्यक्त गरेको विवरण सार्वजनिक भएको छ।

इजरायलले लेबननमा आक्रमण गरेपछि इरानले सोमबार अमेरिकासँग जारी वार्ता रोक्ने चेतावनी दिएको पृष्ठभूमिमा यो घटना भएको हो।

अमेरिकी अनलाइन मिडिया एक्सियोसका अनुसार ट्रम्पले नेतन्याहुलाई फोनमा रिसाउँदै भनेका थिए, ‘तिमी पागल भयौ? आखिर तिमी के गरिरहेका छौ? यदि म नभएको भए तिमी जेलमा हुन्थेउ। म तिमीलाई बचाइरहेको छु। तर अब सबैजना तिमीसँग रिसाएका छन्। सबैजना इजरायलसँग पनि रिसाएका छन्।’

अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्प विशेषगरी लेबननमा भएको ठूलो जनधन क्षति र हेज्बुल्लाह कमान्डसँग सम्बन्धित भवनमा गरिएको आक्रमणप्रति चिन्तित थिए।

कार्यसूचीमा प्रवेश नगरी स्थगित भयो संसद

काठमाडौं ।  प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। आज बसेको बैठक विपक्षी दलहरूको अवरोधका कारण अघि बढ्न नसकेको हो।

बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको हालैको अभिव्यक्तिलाई लिएर आपत्ति जनाउँदै सदन अवरुद्ध गरेका थिए। उनीहरूले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका थिए।

प्रधानमन्त्री शाहले जेठ १७ गते संसदमा ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए। सो भनाइलाई लिएर राजनीतिक दलहरूबीच तीव्र बहस र विवाद सिर्जना भएको छ। विपक्षी दलहरूले उक्त अभिव्यक्ति अस्वीकार्य र असंवेदनशील भएको दाबी गर्दै तत्काल स्पष्टीकरण र माफीको माग गरेका छन्।

अवरोधका कारण सदन नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन र अन्ततः बैठक स्थगित गरिएको सभामुखले जानकारी दिएका छन्। यससँगै संसदको अर्को बैठक आगामी २५ गते बस्ने तय भएको छ।

सरकार र विपक्षीबीच उत्पन्न विवादका कारण संसदमा चर्को राजनीतिक तनाव देखिएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा विवाद र कूटनीतिक संवेदनशीलतासम्बन्धी विषयमा नयाँ बहस सुरु गरेको छ। 

‘नेता बचाउन देशविरुद्ध प्रमाण खोज्ने प्रवृत्ति खतरनाक छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिको बचाउ गर्न खोज्नेहरूलाई लक्षित गर्दै व्यक्ति पूजा र नेता केन्द्रित राजनीतिप्रति कडा टिप्पणी गरेकी छन्।

उनले आफ्ना नेताको बचाउ गर्ने नाममा राष्ट्रिय हित र सार्वभौमिकतामाथि प्रश्न उठाउने गतिविधि स्वीकार्य नहुने बताइन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाको दृष्टिले गम्भीर विषय बनेको उल्लेख गरिन्।

‘प्रधानमन्त्रीज्यूले हिजो व्यक्त गर्नुभएको अभिव्यक्ति कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त गम्भीर विषय बनेको छ। प्रधानमन्त्री भनेको व्यक्ति होइनन्, संस्था हुन् र हाम्रो राजकीय संस्थाबाट आएको ज्यादै फितलो भाष्यले राष्ट्रिय सङ्कट उत्पन्न गर्ने जोखिम बढेको छ । यसलाई भइहाल्यो, सामान्य विषय हो, उहाँको आशय अर्कै हो भनेर टार्न मिल्ने खालको विषय होइन,’ उनले भनिन्।

संवेदनशील विषयमा सार्वजनिक पदाधिकारीले अत्यन्त सावधानी, जिम्मेवारीबोध र कूटनीतिक परिपक्वतासहित भाषा प्रयोग गर्नुपर्ने उनको भनाइ थियो।

‘आजभोलि केही मानिसहरू आफ्ना नेताले जे भन्यो त्यसलाई सही साबित गर्न देशकै विरुद्ध प्रमाण खोज्न दौहिँरहेका छन् । देशको सीमा, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमान बहसका विषय हुन सक्छन् तर नेताको एउटा अभिव्यक्तिलाई बचाउन आफ्नो राष्ट्रकै दाबी कमजोर बनाउने काम कदापि राष्ट्रवाद होइन र यो सदनका सम्मानित माननीयज्यूहरूले त्यस किसिमका गतिविधि नगर्न आग्रह गर्न चाहन्छु,’ उनले भनिन्।

ओलीले नेता पूजा र व्यक्ति पूजा गर्ने प्रवृत्ति लोकतान्त्रिक मूल्यका लागि घातक हुने चेतावनीसमेत दिइन्।

‘एकदिन मानिसले आफ्नो नेताको बचाउ गर्दै आफ्नो देशको पक्ष छोडेको यहाँहरूलाई स्मरण पनि रहँदैन । त्यसैले मैले सम्पूर्ण सदनलाई भन्न चाहेँ,’ उनले भनिन्।

२२ अंकले बढ्यो नेप्से

काठमाडौं । अघिल्लो दिन २६ अंकले घटेको सेयर बजार मंगलबार २२.२१ अंकले बढेको छ। सो वृद्धिसँगै नेप्से परिसूचक २७७७ अंकमा कायम भएको छ। सुरुवाती समयमा बजारमा केही उतारचढाव देखिए पनि १२:२५ बजेपछि बजारले उकालो गति लिएको थियो।

आज १८४ कम्पनीको मूल्य बढ्दा ७७ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबार रकम भने केही घटेको छ। अघिल्लो दिन ५ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ५ अर्ब २६ करोडमा सीमित भएको छ।

फाइनान्स समूहको सूचकमा आज उच्च वृद्धि देखिएको छ। सो समूहको सूचक ६.०३ प्रतिशतले बढेको हो। केही फाइनान्स कम्पनीहरूको मूल्यमा आएको तीव्र वृद्धिले समूहगत सूचकमा उल्लेखनीय प्रभाव पारेको छ।

उत्पादन तथा प्रशोधन समूहबाहेक अन्य सबै समूहका सूचकहरू बढेका छन्। उत्पादन समूह भने ०.४२ प्रतिशतले घटेको छ। अन्य समूह ३.८४ प्रतिशतले बढेको छ। नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सजस्ता ठूला कम्पनीहरूको मूल्य वृद्धि हुँदा अन्य समूहमा समेत सकारात्मक प्रभाव परेको देखिएको छ।

हर्कले हेर्न खोजे प्रधानमन्त्री बालेनको संसद हाजिरी(भिडियाे)

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)को संसद हाजिरी अभिलेख परीक्षण गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले संसदमा उपस्थित हुँदा विधिवत् हाजिर गरेको वा नगरेको विषय स्पष्ट पार्न अभिलेख शाखासँग आग्रह गरेका हुन्।

उनले भने, ‘प्रधानमन्त्री अस्ति संसद आउँदा हाजिर गर्नुभयो कि भएन ? उहाँको हाजिरी हेर्न अभिलेख शाखालाई अनुरोध गर्छु । हाजिर नगरेको भए प्रतिनिधिसभाको सदस्य नरहेको ठहर हुन्छ । प्रतिनिधिसभा नियमावलीको नियम ७७ को १ ले कुनै पनि व्यक्ति प्रतिनिधिसभा सदस्य नरहेको हकमा प्रधानमन्त्री पदबाट मुक्त हुनुपर्ने व्यवस्था छ । उहाँ कतिचोटि आउनुभो र हाजिर गर्नुभो देखाइदिन अनुरोध गर्छु ।’

प्रधानमन्त्रीको संसद हाजिरी अभिलेख सार्वजनिक गर्न माग गर्दै साम्पाङले हाजिर नगरेको प्रमाणित भए प्रतिनिधिसभा सदस्यकै हैसियतमा प्रश्न उठ्न सक्ने दाबी गरे।

 

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन वा माफी माग्न कांग्रेसको माग

काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले १७ जेठको प्रतिनिधिसभा बैठकमा नेपालले पनि भारतको सीमा मिचेको भनी दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने वा संसदमा माफी माग्नुपर्ने माग गरेको छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका उपनेता अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्तिलाई अत्यन्त त्रुटिपूर्ण र आपत्तिजनक ठहर गर्दै कांग्रेसले यस विषयमा कडा विरोध दर्ज गराउन चाहेको बताए।

‘उहाँको अभिव्यक्ति कि फिर्ता लिनुपर्छ कि माफी माग्नुपर्छ । यो नआउन्जेल संसद सुचारु गर्न हामीलाई पनि बाध्यता छ,’ उनले भने।

नेपाल एसियन गेम्सका लागि छनोट

काठमाडौं । नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्सका लागि छनोट भएको छ।

आज भएको समूह चरणको खेलमा मलेसियाले चीनलाई पराजित गरेसँगै नेपाल र मलेसिया दुवै टोलीले प्रतियोगितामा स्थान सुरक्षित गरेका हुन्।

दुई समूहमा विभाजन गरिएको क्वालिफायरको समूह ‘ए’ मा नेपाल, मलेसिया, चीन र कतार रहेका थिए। तर कतार प्रतियोगितामा सहभागी नभएकाले नेपाल र मलेसिया एक खेल अगावै एसियन गेम्सका लागि छनोट भएका हुन्।

अब नेपाल र मलेसियाबीच हुने खेलले समूह विजेताको टुंगो लगाउनेछ।

२०औँ संस्करणको एसियन गेम्स सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा आयोजना हुनेछ।

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विपक्षीको विरोध जारी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को विवादास्पद अभिव्यक्तिलाई लिएर उत्पन्न राजनीतिक विवाद साम्य हुन नसक्दा विपक्षी दलहरूले प्रतिनिधिसभाको बुधबारको बैठकमा पनि विरोध जारी राखेका छन् ।

सभामुख डीपी अर्यालले बैठकको कारबाही सुरु गर्नेबित्तिकै विपक्षी दलका सांसदहरू आ-आफ्नो आसनबाट उठेर विरोधमा उत्रिएका हुन् ।

उनीहरूले प्रधानमन्त्रीले संसद्मा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त भनाइ फिर्ता लिन, संसद्को अभिलेखबाट हटाउन तथा प्रधानमन्त्रीबाट औपचारिक स्पष्टीकरण र माफीको माग दोहोर्‍याएका छन् ।