`

महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठकबीच माइतीघरमा भिडन्त

काठमाडौं । माइतीघर मण्डलामा नेकपा एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठकबीच झडप भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिँदै अम्बिकासहित केही महिलालाई नियन्त्रणमा लिएको छ। घटना दिउँसो करिब १२ बजेतिर भएको हो।

प्राप्त विवरणअनुसार शोभा पाठक, रस्मिला धामीलगायत युवतीहरू पूर्वगृहमन्त्री सुधन गुरुङको पुनर्वहालीको माग गर्दै माइतीघरमा धर्नामा बसिरहेका थिए। सोही क्रममा अम्बिका समूहसहित त्यहाँ पुगेपछि उनीहरूबीच विवाद चर्किएको र झडपको अवस्था सिर्जना भएको बताइएको छ।

प्रत्यक्षदर्शीका अनुसार दुवै पक्षबीच भनाभनपछि हात हालाहाल भएको थियो। त्यसपछि प्रहरीले हस्तक्षेप गर्दै भिड छुट्याएको र अम्बिका लगायत केही महिलालाई नियन्त्रणमा लिएर गएको हो।

घटनाबारे थप विवरण आउन बाँकी छ।

यसअघि शोभा पाठकले महेश बस्नेतविरुद्ध कारबाहीको माग गर्दै अनशन बसेकी थिइन्। त्यसक्रममा तत्कालीन गृहमन्त्री सुधन गुरुङले उनलाई भेट गरेका थिए। गुरुङले राजीनामा दिएपछि उनले अनशन तोडेकी थिइन् र हाल पुनः गुरुङको पुनर्वहालीको माग गर्दै आन्दोलनमा सक्रिय छिन्।

पल-पूजाको ‘रावायण’ युट्युबमा

काठमाडौं ।  पल शाह र पूजा शर्माको मुख्य अभिनय रहेको फिल्म ‘रावायण’ युट्युबमा सार्वजनिक भएको छ। सुदर्शन थापाको निर्देशनमा बनेको उक्त फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।

पूजा शर्मा निर्माता रहेको यो फिल्म करिब डेढ वर्षअघि देशभरका सिनेमा हलमा प्रदर्शन गरिएको थियो। त्यस समयमा अभिनेता पल शाहले फिल्ममा प्रयोग गरिएको नक्कली दाह्रीलाई लिएर आलोचनासमेत सामना गर्नुपरेको थियो।

फिल्ममा पल शाह र पूजा शर्मासँगै प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, अर्जुन जंग शाही, शर्मिला मल्ल, कैलाश रावल, अनिल कुर्मी र प्रदीप ढकाललगायत कलाकारहरूको पनि अभिनय रहेको छ।

माछा मार्दा बेपत्ता भएका पुरुष ५ दिनपछि मृत फेला

उदयपुर । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका-४ जाँतेका ५१ वर्षीय शमशेर राई पाँच दिनपछि मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत मङ्गलबार गाउँका साथीहरूसँग माछा मार्न गएका राई दिउँसो करिब ३ बजे सुनकोशी नदीमा बेपत्ता भएका थिए। त्यसपछि स्थानीयवासी र प्रहरीको संयुक्त खोजी अभियान जारी थियो।

खोजीका क्रममा शनिबार साँझ राईको शव रौतामाई गाउँपालिका-भदौरेस्थित सुनकोशी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईंले जानकारी दिए।

घटनास्थल जिल्ला प्रहरी कार्यालयदेखि करिब १८ कोष उत्तर–पूर्वी पहाडी क्षेत्रमा पर्छ। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

संसद स्थगन गरेर अध्यादेश ल्याउने तयारीमा सरकार(भिडियो)

काठमाडौं । सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ। आह्वान भइसकेको संघीय संसद् अधिवेशन स्थगित गरेपछि सरकारले अध्यादेशमार्फत केही कानुनी व्यवस्था अघि बढाउने तयारी गरेको हो।

स्रोतका अनुसार सोमबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकबाट संवैधानिक परिषद् सम्बन्धी लगायतका अध्यादेश ल्याउने प्रस्ताव अघि बढाइनेछ।

यसअघि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि संघीय संसद् अधिवेशन आह्वान गरेका थिए। तर त्यसको भोलिपल्टै सरकारकै अर्को सिफारिसमा उक्त अधिवेशन स्थगित गरिएको थियो।

अधिवेशन स्थगित भएपछि सरकारले आवश्यक कानुन निर्माणका लागि अध्यादेशको बाटो रोज्ने तयारी गरेको छ। अध्यादेशमार्फत तत्काल आवश्यक नीतिगत तथा संवैधानिक व्यवस्थामा परिवर्तन गर्न खोजिएको बताइएको छ। 

१८ वर्षीया युवक मृत फेला

बाजुरा। बाजुरा र कालिकोटको सिमानामा पर्ने लौखूडाँडामा स्काभेटर दुर्घटना हुँदा बेपत्ता भएका १८ वर्षीय महेश रावल मृत फेला परेका छन्। बाजुराको जगन्नाथ गाउँपालिका-६ रावलवाडाका उनी दुर्घटनापछि हराइरहेका थिए।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कालिकोटको नरहरिनाथ गाउँपालिका-२ का २५ वर्षीय केशव विष्टले चलाएको प्रदेश ३-०१-००३ क ६३११ नम्बरको स्काभेटर सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनाका बेला स्काभेटरमा चालकसहित तीन जना सवार थिए। चालक र अर्का एक जना सकुशल रहे पनि रावल बेपत्ता भएका थिए।

खोजीका क्रममा स्काभेटर खसेको स्थानभन्दा करिब ३०० मिटर तल रावलको शव फेला परेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए।

लौखु जिरो प्वाइन्ट-कोल्टी सडक खण्डमा नयाँ सडक निर्माणका क्रममा खसालिएको माटोले कर्णाली करिडोर अवरुद्ध भएपछि सोही माटो पन्छाउन जाँदा स्काभेटर दुर्घटना भएको प्रहरीले जनाएको छ।

घटनापछि स्काभेटर चालक विष्टलाई कालिकोटको अस्थायी प्रहरी पोस्ट साजघाँटबाट नियन्त्रणमा लिइएको छ। मृतक रावलको शव पोस्टमार्टमका लागि कोल्टी आधारभूत अस्पताल पठाइएको छ भने अवरुद्ध सडक पनि खुलाइएको प्रहरीले जनाएको छ।

युद्द अन्त्य गर्न अमेरिकालाई इरानको नयाँ प्रस्ताव

काठमाडौं । तेहरानले क्षेत्रीय तनाव घटाउने प्रयासस्वरूप पाकिस्तानमार्फत अमेरिकासमक्ष नयाँ प्रस्ताव अघि सारेको छ। एक्सियोसको रिपोर्टअनुसार इरानले हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने र जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले दुई चरणीय योजना प्रस्तुत गरेको हो, जसलाई दीर्घकालीन समाधानतर्फको सम्भावित कदमका रूपमा हेरिएको छ।

उक्त योजनाको पहिलो चरणमा समुद्री सुरक्षा संकट र अमेरिकी नौसेनाको नाकाबन्दी अन्त्य गर्ने विषय समेटिएको छ। त्यसपछि मात्र आणविक वार्ता अघि बढाउने प्रस्ताव गरिएको छ। इरानले दीर्घकालीन युद्धविराम र स्थायी शान्तिको रूपरेखा प्रस्तुत गरे पनि अमेरिकाले भने इरानलाई कम्तीमा १० वर्षसम्म युरेनियम संवर्धन रोक्न र आफ्नो आणविक सामग्री विदेश सार्न दबाब दिइरहेको छ। यस विषयमा इरानभित्रै पूर्ण सहमति बन्न सकेको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका लागि प्रत्यक्ष भेटभन्दा फोनमार्फत संवाद गर्न सकिने संकेत दिएका छन्। यता, इरानी विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तान र ओमानसँग कूटनीतिक पहल तीव्र बनाएका छन् भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्ने तयारीमा छन्।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलबीचको सैन्य तनावपछि ठूलो युद्ध टरे पनि औपचारिक शान्ति सम्झौता भने हुन सकेको छैन। यसले विश्व अर्थतन्त्रमा अनिश्चितता कायम राखेको छ।

विश्वको करिब २० प्रतिशत तेल ढुवानी हुने रणनीतिक हर्मुज जलमार्गलाई इरानले आफ्नो कूटनीतिक दबाबका रूपमा प्रयोग गरिरहेको छ। इरानले वार्ताअघि अमेरिकी नाकाबन्दी हटाउने, क्षतिपूर्ति दिने र भविष्यमा सैन्य हस्तक्षेप नगर्ने ग्यारेन्टी माग गरेको छ। अर्कोतर्फ, अमेरिका इरानको आणविक कार्यक्रम, मिसाइल विकास र क्षेत्रीय प्रभाव सीमित गर्न केन्द्रित रहेको छ।

लेबनानमा इजरायली आक्रमण, १४ जनाको मृत्यु

काठमाडौं । लेबनानमा लागू भएको युद्धविरामकै बीच इजरायलले गरेको आक्रमणमा १४ जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमध्ये दुई बालबालिका र दुई महिला समेत छन्, भने ३७ जना घाइते भएका छन्।

गत बिहीबार मात्र दुवै देशबीच युद्धविराम तीन साताका लागि थप गरिएको थियो। तर समझौता कायम रहे पनि क्षेत्रको वातावरण तनावपूर्ण नै रहेको छ।

सम्झौताअनुसार इजरायललाई आफ्नो सुरक्षासम्बन्धी आवश्यक कदम चाल्न अनुमति दिइएको छ। आक्रमणअघि इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी लेबनानका केही बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न चेतावनी दिएको थियो, त्यहाँ बसिरहनु ज्यानका लागि जोखिमपूर्ण हुने बताएर।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुँले सेना सक्रिय रूपमा अभियानमा रहेको र हिज्बुल्लाहका गतिविधिले युद्धविराम उल्लङ्घन गरिरहेको आरोप लगाएका छन्।

बलात्कारको आरोपमा युवक पक्राउ

धनगढी।युवतीलाई बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

२० वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले डडेल्धुराको अमरगढी नगरपालिका-२ का ३१ वर्षीय सुरेश अवस्थीलाई पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका-४ मा रहेको सन्जोग होटलमा जबरजस्तीकरणी गरेको भन्ने उजुरी परेपछि प्रहरीले युवकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले उहाँलाई पक्राउ गरेको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।

उहाँका अनुसार आरोपितलाई हिरासतमा राखेर थप अनुसन्धानको कार्य भइरहेको  छ । 

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत(तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत रूपमा चयन हुने भएका छन्।

दलको नेतृत्व सहमतिमै टुंग्याउन पार्टी केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्यदल गठन गरिएको थियो।

गत शुक्रबार (वैशाख ११) गठन भएको उक्त कार्यदलले आङ्देम्बेलाई नै संसदीय दलको नेता बनाउँदा पार्टी एकताको सन्देश जाने निष्कर्ष निकालेको हो।

कार्यदलमा रहेका एक पदाधिकारीका अनुसार आङ्देम्बेको नाममा सहमति जुटिसकेको छ र औपचारिक घोषणा हुन मात्र बाँकी रहेको छ।

 

राजीनामा दिए पनि सुधनको सचिवालयले चलाइरहेको छ गृहमन्त्रालय(भिडियो)

काठमाडौं । गृहमन्त्रीबाट सुधन गुरुङले राजीनामा दिएको छैटौँ दिन पूरा भएको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग साझेदारी र सेयर कारोबार गरेको आरोपलगत्तै बढेको आलोचनापछि उनले वैशाख ९ मा गृहमन्त्री पद छोडेका थिए।

गत चैत १३ मा गृहमन्त्री बनेका गुरुङ २७ दिनमै पदत्याग गरी मन्त्रालयबाट बाहिरिएका हुन्। हाल गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाहले सम्हालिरहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा गुरुङको राजीनामा स्वीकृत गर्दै कार्यभार प्रधानमन्त्री नै सम्हाल्ने व्यवस्था गरेका हुन्।

तर, गृहमन्त्री पद रिक्त रहे पनि मन्त्रालय भने निवर्तमान मन्त्री गुरुङकै टिमले चलाइरहेको देखिन्छ। उनका स्वकीय सचिव जेम्स कार्की गृह मन्त्रालयमै सक्रिय छन्। गृह मन्त्रालयका प्रवक्ता तथा शान्ति–सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्लेको कार्यकक्ष नजिकै कार्कीको कक्ष छ, र शुक्रबार दिनभर उनी त्यहीँ काममा व्यस्त थिए।

कार्की गत चैत १९ मा गुरुङका स्वकीय सचिवमा नियुक्त भएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहेका उनी यसअघि प्रधानमन्त्री शाहकै सचिवालयमा अनौपचारिक रूपमा काम गर्थे र शाहका निकट व्यक्ति मानिन्छन्। गुरुङले राजीनामा दिए पनि कार्की मन्त्रालयमै बसेर मन्त्रालय मातहत रहेका निकायसँग ‘ब्रिफिङ’ लिने, निर्देशन दिने लगायतका काम गरिरहेको कर्मचारीहरू बताउँछन्।

गृह मन्त्रालयका एक सहसचिवका अनुसार कार्कीले आफ्नो कक्षमा कर्मचारी तथा सुरक्षा अधिकारीलाई बोलाएर नियमित रूपमा ‘टिपोर्टिङ’ लिँदै आएका छन्। मन्त्री पदको कार्यभार प्रधानमन्त्रीले सम्हाले पनि व्यावहारिक रूपमा मन्त्रालय संचालन गुरुङकै टिमले गरिरहेको उनीहरूको आरोप छ।

गुरुङ पदबाट बाहिरिएपछि गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले एक मात्र निर्णय गरेको छ। वैशाख १० मा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जस्थित ११४ रोपनी ३ आना जग्गा पूर्ववत् रूपमा प्रतिष्ठानकै स्वामित्वमा रहने निर्णय गरेको हो। २०७५ सालमा उक्त जग्गा राष्ट्रपतिको कार्यालयलाई दिने निर्णय भएको थियो।

यसबीच, गुरुङमाथि छानबिन गर्ने र निर्दोष देखिए पुनर्वहाली सम्भावना खुला राख्ने संकेत प्रधानमन्त्री शाहले दिइरहेका छन्। गुरुङले राजीनामापछि सामाजिक सञ्जालमार्फत छानबिन गर्न माग गरेका थिए।

प्रधानमन्त्रीको सचिवालयका अनुसार पार्टीले नयाँ नाम सिफारिस नगरेसम्म गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री शाहले नै सम्हालिरहने छन्।

बस्नेतको प्रश्न : सिंहदरबार जल्दा नदेखिएको सेना सुकुमवासी हटाउन कसरी आयो ?(भिडियो)

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सुकुमवासी बस्ती हटाउने प्रक्रियामा नेपाली सेनाको सहभागितामाथि गम्भीर प्रश्न उठाएका छन्। सरकारले थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका सुकुमवासी बस्ती हटाउँदा सेनासमेत सुरक्षा व्यवस्थामा खटिएको घटनाले सार्वजनिक वृत्तमा व्यापक चर्चा पैदा भएको छ।

बस्नेतले सेनाको तैनाथी कानुनी आधारबारे शंका व्यक्त गर्दै भने, ‘राष्ट्रिय सुरक्षा परिषद् बैठक, मन्त्रिपरिषद् निर्णय वा राष्ट्रपतिको आदेश केका आधारमा सेना सुकुमवासी बस्तीमा पुग्यो? सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन र सयौँ सरकारी कार्यालयहरू जलिरहेको बेला रोकेर नपुगेको सेना प्रहरी, बालेनको आदेशमा गरिबका घर भत्काउन किन तत्पर देखिन्छ?’

उनले सेनाको वास्तविक ‘मालिक’ को हो, सेनामाथि कुन प्रभाव काम गरिरहेको छ र कसका स्वार्थमा यस्तो गतिविधि भइरहेको हो भन्ने विषय जनताले गम्भीर रूपमा बुझ्नुपर्ने समय आएको टिप्पणी गरे।

गत भदौ २४ मा संसद भवन, सर्वोच्च अदालत र सिंहदरबारसहितका संरचनामा आगजनी हुँदा सेना तत्काल परिचालन हुन मन्त्रिपरिषद्को निर्णय आवश्यक रहेको बताइएको थियो। तर अहिले भने सुरक्षा परिषद् वा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक नभएको अवस्थामा सेना फील्डमा कसरी खटाइयो भन्ने अर्को ठूलो प्रश्न उठिरहेको बस्नेतले जनाएका छन्।

उनका अनुसार यस्तो दोहोरो मापदण्डले सुरक्षा निकायको कार्यप्रति जनविश्वासमा गम्भीर असर परेको छ।

अमेरिकालाई मोहित बनाउने विवेकानन्दको त्यो ‘शिकागो भाषण’

काठमाडौं। सन् १८६३ जनवरी १२  मा जन्मेका नरेन्द्रनाथ दत्त अर्थात स्वामी विवेकानन्द हिन्दू दर्शनका प्रसिद्ध विद्वान थिए।

उनी सन् १८९३ मा अमेरिकाको शिकागोमा भएको विश्व धर्म संसदमा सनातन हिन्दू धर्मका प्रतिनिधिका रूपमा सहभागी भई वेदान्त दर्शन र भारतीय आध्यात्मिकतालाई पश्चिमी देशहरूमा परिचित गराए।

कलकत्ताको धनाढ्य बङ्गाली परिवारमा जन्मिएका विवेकानन्दको झुकाव बाल्यकालदेखि नै आध्यात्मिकताप्रति थियो। उनी रामकृष्ण परमहंसका प्रिय शिष्य थिए र गुरुद्वाराबाट सबै जीव परमात्माका रूप हुन् र मानवसेवा नै ईश्वरसेवा हो भन्ने शिक्षा प्राप्त गरे।

उनले रामकृष्ण मिशन स्थापना गरी गरिब अनाथ र असहायहरूको सेवा तथा शिक्षा स्वास्थ्यको कार्यलाई अघि बढाए।

शिकागोमा उनले अमेरिकाका दाजुभाइ तथा दिदीबहिनीहरू भन्ने शब्दबाट भाषण सुरु गर्दै सबै धर्मप्रति सहिष्णुता विश्व एकता र मानवतावादको सन्देश दिए।

उनले सबै धर्महरूलाई एउटै सत्यतर्फ जाने मार्गका रूपमा स्वीकार गर्नुपर्ने विचार व्यक्त गर्दै कट्टरता साम्प्रदायिकता र हिंसाको विरोध गरे।

१९०२  जुलाई ४ मा अस्ताएका विवेकानन्दको विचारले सम्पूर्ण विश्वलाई प्रभावित पार्‍यो। उनी आज पनि भारतीय संस्कृति अध्यात्म र मानवताका महान प्रेरणास्रोतका रूपमा सम्मानित छन्।

विवेकानन्दको शिकागो धर्म संसदमा दिएको भाषण विश्वभर अत्यन्त प्रसिद्ध छ।  जसले उनलाई सम्पूर्ण भारत र भारतीय संस्कृतिलाई पश्चिमी देशहरूमा परिचित गरायो। उनको भाषण सुनेपछि सम्पूर्ण संसार भारतको प्रशंसक बनेको थियो। तालीको गडगडाहटले उनको स्वागत गरिएको थियो।

स्वामी विवेकानन्दको शिकागो भाषण

११ सेप्टेम्बर १८९३ मा अमेरिकाको शिकागो शहरको धर्म संसदमा उहाँको भाषणले भारतको छवि परिवर्तन गरिदिएको थियो। उहाँले केही मिनेटमै त्यहाँ उपस्थित मानिसहरूको मन जित्नुभयो। सम्पूर्ण संसार भारतको प्रशंसक बन्यो।

जब सन् १८९३ मा भारत गुलामीको जंजीरमा बाँधिएको थियो तब स्वामी विवेकानन्दले भारतको प्राचीन सभ्यता संस्कृति विरासत अध्यात्म र गौरवशाली इतिहासलाई विदेशी भूमिमा गर्वका साथ प्रस्तुत गरे। उनको सम्बोधनमा चारैतिर तालीको गडगडाहट थियो।

स्वामी विवेकानन्दले शिकागो भाषणको सुरुवात यसरी गरे,

‘अमेरिकाका प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू तपाईंहरूको यस हार्दिक र जोशपूर्ण स्वागतले मेरो हृदय अपार आनन्दले भरिएको छ। म तपाईंहरूलाई संसारको सबैभन्दा प्राचीन सन्यासी परम्पराको तर्फबाट धन्यवाद दिन्छु। म तपाईंहरूलाई सबै धर्महरूको जननीको तर्फबाट धन्यवाद दिन्छु। करोडौँ हिन्दूहरूको तर्फबाट पनि आभार व्यक्त गर्दछु। म ती वक्ताहरूलाई पनि धन्यवाद दिन्छु जसले यहाँबाट सहिष्णुताको विचार पूर्वी देशहरूबाट फैलिएको हो भने।

म गर्व गर्छु कि म यस्तो धर्मसँग सम्बन्धित छु। जसले संसारलाई सहिष्णुता र सार्वभौमिक स्वीकार्यताको पाठ सिकाएको छ। हामी केवल सहिष्णुतामा मात्र होइन सम्पूर्ण धर्महरूलाई सत्यको रूपमा स्वीकार गर्छौं।

म गर्व गर्छु कि म यस्तो देशबाट आएको हुँ जसले सताइएका र पीडित सबै देशका मानिसहरूलाई शरण दिएको छ। हामीले यहूदीहरूको पवित्र स्मृतिलाई आफ्नो हृदयमा राखेका छौँ। जसका धर्मस्थलहरू रोमन आक्रमणकारीहरूले ध्वस्त पारेका थिए। उनीहरू दक्षिण भारतमा आएर शरण लिएका थिए। हामीले पारसी धर्मका मानिसहरूलाई पनि शरण दिएका छौँ।

अमेरिकन दाजु भाइहरू म तपाईंहरूलाई एउटा श्लोक सुनाउन चाहन्छु। जसलाई मैले बाल्यकालदेखि सम्झेर दोहोर्याउँदै आएको छु। ‘रुचिनां वैचित्र्यादृजुकुटिलनानापथजुषाम… नृणामेको गम्यस्त्वमसि पयसामर्णव इव..….. यसको अर्थ  जसरी विभिन्न स्रोतबाट निस्केका नदीहरू अन्ततः समुद्रमा पुग्छन् त्यसैगरी मानवले विभिन्न मार्गहरू रोजे पनि सबै अन्ततः परमात्मातर्फ नै जान्छन्। यस सम्मेलनले देखाउँछ कि सबै मार्गहरू अन्ततः एउटै सत्यतर्फ जान्छन्।

कट्टरता साम्प्रदायिकता र हठधर्मिताले लामो समयदेखि पृथ्वीलाई हिंसाले भरिदिएको छ। यी कारणहरूले धेरै सभ्यताहरू नष्ट भएका छन्। यदि यी नहुन्थे भने मानव समाज अझ धेरै विकसित हुन्थ्यो। तर अब यी समय सकिन लागेको उनले विश्वास व्यक्त गरे। उनले आशा गरे कि यो सम्मेलनले सबै प्रकारका कट्टरता द्वेष र विभाजनलाई समाप्त गर्ने दिशामा कदम चाल्नेछ।’

यो सभा, जुन अहिलेसम्मका सबैभन्दा पवित्र सम्मेलनहरूमध्ये एक हो, आफैं गीता शिक्षाको यो महान सन्देशलाई प्रस्तुत गर्छ

‘ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम्। मम वर्त्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः।’

अर्थात् जो जसरी पनि मेरो शरणमा आउँछ, म उसैलाई प्राप्त हुन्छु। मानिसहरू विभिन्न मार्गबाट प्रयास गर्दै अन्ततः मलाई नै प्राप्त गर्छन्।

सम्प्रदायवाद, कट्टरता र त्यसका भयानक उत्तराधिकारी धार्मिक उन्मादले धेरै समयदेखि यस सुन्दर पृथ्वीमा शासन गर्दै आएका छन्। उनीहरूले पृथ्वीलाई हिंसाले भरिदिएका छन् र मानवताको रगतले बारम्बार नुहाएका छन्, सभ्यताहरूलाई नष्ट गर्दै सम्पूर्ण देशहरूलाई निराशाको खाडलमा पुर्‍याएका छन्।

यदि यी भयानक दानवी शक्तिहरू नभएको भए मानव समाज आजभन्दा धेरै उन्नत भइसकेको हुन्थ्यो। तर अब उनीहरूको समय सकिन लागेको छ। म हृदयदेखि आशा गर्छु। आज बिहान यस सभाको सम्मानमा भएको घण्टाध्वनि सम्पूर्ण धर्मान्धता, तरवार वा लेखनीद्वारा गरिने सबै उत्पीडन, र एउटै लक्ष्यतर्फ अघि बढ्ने मानिसहरूबीचको सबै कटुता समाप्त गर्ने मृत्यु-घोष बन्नेछ।

(११ सेप्टेम्बर १८९३)

१३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा सोमबार (वैशाख १४) सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ५०० रुपैयाँ पुगेको महासंघले जनाएको छ। आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि वृद्धि भएको छ। चाँदी प्रतितोला ५० रुपैयाँले बढेर पाँच हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

त्रिविको कडा कदम : ३५ दिनभित्र अतिक्रमित जग्गा खाली गर्न १८ संस्थालाई अल्टिमेटम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अतिक्रमित जग्गा फिर्ता ल्याउने भएको छ । लामो समयदेखि विभिन्न संघ–संस्था, सरकारी निकाय र निजी प्रयोगमा गएका आफ्नो स्वामित्वको जग्गा फिर्ता ल्याउने निर्णय गर्दै त्रिविले खाली गर्न ३५ दिने अल्टिमेटम जारी गरेको छ ।

त्रिविको सामान्य प्रशासन महाशाखाले १८ वटा संघसंस्था र संगठनलाई औपचारिक पत्राचार गरी जग्गा खाली गर्न भनेको हो । त्रिविको ‘जग्गा तथा अचल सम्पत्ति छानबिन समिति’को प्रतिवेदनअनुसार कीर्तिपुर परिसरभित्र मात्रै करिब १ हजार ५ सय रोपनी जग्गा विभिन्न संघ–संस्थाको प्रयोगमा पुगेको छ ।

त्रिविले अतिक्रमणमा रहेका जग्गा फिर्ता ल्याउन विभिन्न निकायलाई छुट्टाछुट्टै पत्र पठाउन थालेको छ । यसै क्रममा नेपाल क्रिकेट संघ (क्यान)लाई पनि त्रिवि क्रिकेट रंगशाला खाली गर्न पत्राचार गरिएको छ ।

रंगशाला त्रिवि र क्यानबीच सहमति भएपछि भाडामा दिइएको थियो । सम्झौता अवधि यही वैशाख मसान्तमा सकिँदैछ । त्रिविका एक पदाधिकारीका अनुसार यसपटक सम्झौता नवीकरण गर्ने पक्षमा विश्वविद्यालय छैन ।

उनका अनुसार सम्झौता सकिएपछि नवीकरण नगर्ने र त्रिविले शैक्षिक प्रयोजनका लागि रंगशाला प्रयोग गर्छ । तर, नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाले त्रिविबाट पत्र प्राप्त नगरेको बताएका छन् ।

उनले सार्वजनिक बिदाका कारण पत्र क्यानमा आइपुग्न ढिला भएको हुन सक्ने बताए । उनका अनुसार त्रिविसँग सम्झौता नवीकरणको प्रयास भइरहेको छ ।

यस्तोमा त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने गुरुयोजना सुशीला कार्की सरकारले स्वीकृत गरिसकेको छ । बजेट करिब १० अर्ब छ ।

उसो त पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहालको पालामा पनि रंगशाला निर्माणका लागि विभिन्न पहल भएका थिए । अब भने अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउन बजेट स्वीकृत भइसकेको अवस्थामा त्रिविले मैदान खाली गराउन अल्टिमेटम दिएपछि परियोजनाको भविष्य अन्योलमा परेको छ । यता त्रिवि भने सम्झौता नगरेर जग्गा फिर्ता लिने कदममा छ ।

त्रिविको जग्गा क्यान मात्रै होइन, विभिन्न सरकारी तथा गैरसरकारी निकायले पनि प्रयोग गर्दै आएका छन् । केही संस्थाले त्रिविको स्वीकृतिमा जग्गा पाएका छन् भने कतिपयले बिनास्वीकृति कब्जा गरी प्रयोग गरिरहेका छन् ।

विभिन्न अनुसन्धान केन्द्र, बैंक, संघसंस्था तथा सुरक्षा निकायलाई समेत त्रिविले विभिन्न समयमा जग्गा उपलब्ध गराएको देखिन्छ । यद्यपि, केही संस्थाले सम्झौताविपरीत थप क्षेत्र ओगटेको वा प्रयोजनभन्दा फरक उपयोग गरेको छानबिन प्रतिवेदनबाट खुलिसकेको छ

त्रिविको जग्गा खोजबिन प्रतिवेदनमा ५०५०–३–१–१ रोपनी क्षेत्रफल जग्गा त्रिविको रहेको उल्लेख छ । कालान्तरमा कब्जा हुँदै गयो । केहीले स्वीकृति लिएर भोगचलन गरे भने केहीले बिना स्वीकृति कब्जा गरेको प्रतिवेदनमा भनिएको छ ।

जस्तो, बीपी प्लानेटोरियम तथा अब्जरभेटरीलाई १६० रोपनी, कृषि बागबानी केन्द्रलाई २८१ रोपनी, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई २५ रोपनी, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई ८२ र २५ रोपनी जग्गा सरकारको आग्रहअनुसार उपलब्ध गराएको भनिएको छ ।

यसबाहेक महानगरीय प्रहरी वृत्त (कीर्तिपुर)लाई ५ रोपनी, महानगरीय प्रहरी वृत्त (कालिमाटी)लाई ४ रोपनी, नेपाल प्राध्यापक संघलाई ६ रोपनी १२ आना, ग्लोबल आइएमई बैङ्क, लायन्स क्लब इन्टरनेसनलको रक्तसञ्चार केन्द्र, नेपाल क्रिकेट संघ ७६ रोपनी ४ आना ३ दाम, नेपाल बैङ्क लिमिटेडलगायतले त्रिविको जग्गा भोगचलन गर्दै आएका छन् ।

सम्झौताबनिा करिब १५ रोपनी जग्गा राधास्वामी सत्सङ्ग व्यास नेपाल नामक संस्थाले अनधिकृत रूपमा प्रयोग गर्दै आएको छ । १०८ रोपनी १४ आना २ पैसा ३ दाम जग्गा ब्याबरेटोरी माध्यमिक विद्यालयले अनधिकृत रुपमा कब्जा गरेको छ । नेत्रज्योति संघले १० रोपनी जग्गा भोगचलन गर्दै आएको छ ।

त्रिविका सामान्य प्रशासन महाशाखा प्रमुख राजबहादुर राईले भने, ‘जग्गा खोजबिन समितिको प्रतिवेदन हामीले अध्ययन गरिसकेका छौँ र त्यसको आधारमा विभिन्न व्यक्ति र संघसंस्थाले भोगचलन वा हडपेको सबै जग्गा फिर्ता लिन्छौँ ।’

त्रिविको प्रतिवेदनले अतिक्रमणमा संलग्न व्यक्तिहरूविरुद्ध अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको छ ।

सरकारले देशभर सार्वजनिक जग्गा अतिक्रमण हटाउने नीति अघि बढाइरहेका बेला त्रिविको यो कदमलाई त्यसैको निरन्तरताको रूपमा हेरिएको छ ।

खासगरी प्रधानमन्त्री बालेनको निर्देशनपछि काठमाडौंको नदी किनारका सुकुम्बासी बस्ती हटाउन थालेपछि सार्वजनिक जग्गा संरक्षणको सवाल राष्ट्रिय बहसमा आएको छ ।

आँखामा टिलपिल आँसु पार्दै सुकुम्बासीले साेधे- कहाँ राखिदिने हो ?(भिडियो)

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनपछि सुरक्षाकर्मीले काठमाडौंको खोला तथा नदी किनारका सुकुम्बासी बस्तीहरू हटाइरहँदा केही सुकुम्बासीको दुःखले मानिसहरूलाई ‘स्तब्ध’ तुल्याएको छ ।

आइतबार काठमाडौंको मनोहरा क्षेत्रबाट हटाइएका एक सुकुम्बासी आँखामा आँसु टिलपिल पार्दै कहाँ राख्ने होला भन्दै चिन्तित भएको भिडियो सार्वजनिक भयो । यो भिडियोले धेरेलाई दुःखित बनाएको छ ।

उनले भिडियोमा भनेका छन्, ‘घरमा चार जना छन्, थाहै छैन । कहाँ राखिदिने हो ? सरकारले व्यवस्था गरिदिनु पर्ने हो होइन, नहुनेलाई ।’

सरकारले वास्तविक सुकुम्बासीको दीर्घकालीन व्यवस्थापनका लागि पाँच स्थानमा पुनस्र्थापनाको योजना अघि सारेको छ । नागार्जुनको इचंगुनारायण, कीर्तिपुरको सत्संग भवन, भक्तपुरको बोडे, खरीपाटी र चाँदबागका सरकारी संरचनाहरूलाई विकल्पका रूपमा तय गरिएको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार पहिलो चरणमा सुरक्षित आश्रय, दोस्रो चरणमा अस्थायी आवास र त्यसपछि दीर्घकालीन पुनस्र्थापनाको योजना छ ।

वास्तविक सुकुम्बासीलाई दुई साताभित्र व्यवस्थित आवासमा लैजाने लक्ष्य राखिएको उनले बताए ।

माननीय खगेन्द्र सुनारज्यू, सीडीओ होइन प्रधानमन्त्री कार्यालयमा धर्ना बस्नुहोस्’ (भिडियो)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले रास्वपा सांसद खगेन्द्र सुनारलाई प्रधानमन्त्री कार्यालयमा धर्ना बस्न सुझाव दिएका छन् ।

सिन्धुलीका युवक श्रीकृष्ण विकको प्रहरी कार्यालयको हिरासतमा भएको मृत्युलाई जातीय विभेदको उपजको रूपमा अथ्र्याउँदै रास्वपा सांसद सुनार जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेट अगाडि धर्ना बसेको प्रसङ्गमा शाहीले प्रधानमन्त्री कार्यालयमा बस्ने सुझाएका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाह छन् । उनी सुनारकै दलको वरिष्ठ नेता हुन् । यस्तोमा शाहीले सीडीओ कार्यालय नभई आफ्नै पार्टीका प्रधानमन्त्री बालेनको कार्यालयअघि धर्नामा बस्नु भनेका हुन् ।

‘खगेन्द्र सुनार माननीयज्यूलाई म के भन्न चाहन्छु भने जातीय विभेद भएको होला तपाईं सीडीओ कार्यालयमा होइन कि प्रधानमन्त्री कार्यालयमा पुग्नुहोस् । सबैभन्दा राम्रो त्यो हुन्छ,’ शाहीले भने ।

अन्तरजातीय विवाह गरेका श्रीकृष्ण केही दिनअघि सिन्धुलीको खुर्कोट इलाका प्रहरी कार्यालयमा सर्टको पासो लगाएको अवस्थामा फेला परेको प्रहरीको दाबी थियो ।

उनलाई उपचारका लागि अस्पतालमा लाँदा मृत्यु भएको प्रहरीको जवाफ छ । यस्तोमा उनलाई दलित भएकै कारण कुटपिट गरेर प्रहरी हिरासतमै हत्या गरेको आरोप लगाउँदै सुनारसहित, रास्वपाकै सांसदहरू रीमा विश्वकर्मा, आशिष गजुरेलसहित चार सांसद धर्नामा बसेका थिए ।

सांसद सुनारले त प्रहरीको सिन्धुलीका एसपीलाई घिसार्ने भन्दै हिंसाप्रेरित अभिव्यक्ति दिएका थिए । पदीय आचरण, मर्यादा र गरिमालाई बिर्सेर दिएको यस्तो अभिव्यक्ति विवादमा परेको थियो ।

पदीय मर्यादा बिर्सेर हर्कले पूर्वसचिव भीम उपाध्यायलाई भन्दिए– ‘ढेँडुमुखे (भिडियो)

काठमाडौं । ‘ढेंडुमुखे’ भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्वसचिव भीम उपाध्यायको कडा शब्दमा आलोचना गरेका छन् ।

शारीरिक बनावटलाई आधार मानेर यस्तो टिप्पणी गर्नु सांसद समेत रहेका साम्पाङलाई शोभनीय हुँदैन । सांसदको पदीय आचरण र मर्यादाविपरीत हो ।

तर, बालेन्द्र शाहको सरकारले सुकुम्बासी बस्ती हटाएपछि निरन्तर विरोध गरिरहेका साम्पाङलाई पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली र शेरबहादुर देउवासँगै राखेर एआईबाट बनाइएको तस्बिर राख्दै पूर्वसचिव उपाध्यायले ‘मर्द नेताले यसरी काम गर्छन्, नामर्दहरू यसरी रुन्छन्’ भन्दै खिसी गरेका थिए ।

केही समयपछि साम्पाङले पूर्वसचिव उपाध्यायलाई गरिबको पीडा थाहा नहुने भन्दै ‘ढेँडुमुखे’ भनेका हुन् ।

साम्पाङको यस्तो कमेन्टपछि थुप्रैले प्रतिक्रिया जनाएका छन् ।

पेटभरी खान नपाएको भन्दै सुकुम्बासीले बालेन सरकारसँग चित्त दुखाए

काठमाडौं । पेटभरी खान नपाएको भन्दै सुकुम्बासी बस्तीबाट हटाइएका नागरिकहरूले गुनासो गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को निर्देशनपछि शनिबार र आइतबार सुकुम्बासी बस्तीबाट हटाएपछि कीर्तिपुरमा राखिएका नागरिकहरूले भनेका छन्– खाना अघाउनेगरी खान पाइएन ।’

प्रधानमन्त्री बालेनले काठमाडौं महानगरपालिकालाई उनीहरूका लागि खानाको व्यवस्था गर्न भनेका थिए । महानगरपालिकाले शनिबार साँझ र आइतबार बिहान प्याकेटको खाना दिएका थिए ।

तर, सुकुम्बासी वस्तीबाट हटाइएका नागरिकहरूले अघाउँजी खान नपाएको भन्दै सरकारसँग गुनासो गरेका हुन् । बिहान भने उनीहरूलाई चिया र बिस्कुट दिइएको थियो ।

काठमाडौंको थापाथली, शान्तिनगर, गैरीगाउँ, मनोहरालगायत क्षेत्रका सुकुम्बासी बस्ती शनिबार र आइतबार खाली गरिएको छ ।

२ सय भन्दा बढी सुकुम्बासी परिवार कीर्तिपुरलगायत क्षेत्रमा लगेर राखिएको छ । उनीहरूले अघाउँजी खान नपाएको भन्दै सरकारसँग चित्त दुखाएका हुन् ।

हराएको १८ लाखको सुन भेटेर बुझाएपछि लोकबहादुर बने ‘हिरो’, तारिफकाे ओइराे

काठमाडौं । झण्डै १८ लाख पर्ने ६ तोला सुन भेटेर दिएपछि स्याङ्जाका लोकबहादुर थापाको तारिफ जताजतैबाट भइरहेको छ ।

उनले ३२ वर्षीया अनिता अधिकारीको सुन भएको झोला भेटेका थिए । भेटे लगत्तै खोलेर हेर्दा १८ लाख जति पर्ने ६ तोला सुन देखेपछि उनले प्रहरीलाई तत्काल खबर गरेका थिए ।

उता अनिताले पनि केहीबेरमा प्रहरीलाई आफ्नो सुनसहितको झोला हराएको भनेर खबर गरिन् । प्रहरीले दुवैलाई भेट गराए । इमानी लोकबहादुरले सुनसहित भेटेको झोला अनिताले बुझाए ।

अनिताको खुसीको सीमा रहेन । अनिताले लोकबहादुरलाई सम्मान गर्दै खादा लगाइदिइन् । धन्यवाद दिइन् । लोकबहादुरको इमानप्रति उनको शीर झुक्यो ।

यो प्रसङ्ग शनिबारको हो । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोला बस्ने ३२ वर्षीया अनिता अधिकारी स्कुटरमा स्याङ्जाबाट पोखरा जाँदै थिइन् । सुनका गरगहनासहितको व्याग खसेको उनलाई पत्तै भएन ।

तर, इमानी ट्याक्सी चालक लोकबहादुर थापाले पुतलीबजार नगरपालिका–३ स्थित मजुवामा गहनासहितको झोला भेटाए । जहाँ भेटियो, सिक्री २ तोला, हार १ तोला, बेरूवा २ थान, पोतेसहितको सुनको माला १ थान, चन्द्रमा १ थान ।

यति धेरै सुनसहितको झोला इमानपूर्वक लोकबहादुरले फिर्ता गरेको खबरपछि लोकबहादुरको तारिफ भइरहेको छ ।

रवि–बालेनलाई फुर्क्याउँदै रवीन्द्र मिश्रले सुझाए- राजसंस्थालाई लोकतान्त्रिक ढाँचाभित्र ल्याउनैपर्छ

काठमाडौं । राजतन्त्रपक्षधर अगुवा रवीन्द्र मिश्रले बालेन्द्र शाह नेतृत्वको सरकार बनेको एक महिना पुगेको अवसरमा राजसंस्थालाई लोकतान्त्रिक ढाँचाभित्र ल्याउनुपर्ने धारणा व्यक्त गरेका छन्। नेपालकाे दीर्घकालिन हित र अस्तित्व रक्षा गर्न राजसंस्थालाई लोकतान्त्रिक ढाँचाभित्र ल्याउनैपर्ने बताए । ‘प्रचण्डपथ’ बाट देशमा सुशासन सम्भव नभएकाे भन्दै उनले राजसंस्थाकाे औचित्य पुष्टि हुने तर्क गरे ।

‘तपाईंहरूले सुशासनको हकमा असाधारण काम गरिरहे पनि, बढ्दोरूपमा असुरक्षित बन्दै गएको विश्वमा नेपालको दीर्घकालीन हित र अस्तित्व सुनिश्चित गर्ने हो भने राजसंस्थालाई लोकतन्त्रको फ्रेमवर्कभित्र ल्याउनै पर्छ। तपाईंहरू हिँडिरहेको प्रचण्डपथबाट त्यो सम्भव हुँदैन। सुशासनको एजेन्डाले मात्र अब नेपाललाई थेग्न सक्दैन,’ उनले भने ।

बालेन सरकारको उदयलाई उनले ‘रवि-बालेन सफल सहकार्यकाे’ रूपमा चित्रित गरेका छन्। उनले लेखेका छन्, ‘यो पटकको चुनावमा बालेन नभएको भए रास्वपा सफल हुने थिएन। रास्वपा नभएको भए बालेन प्रधानमन्त्री हुने थिएनन्।’

मिश्रले सरकार प्रमुखका रूपमा बालेनको चर्चा व्यापक भए पनि रवि लामिछाने को भूमिका निर्णायक रहेको बताएका छन्।’रवि लामिछाने नभएको भए अहिले जे देखिएको छ, त्यो केही पनि सम्भव हुने थिएन,’ उनले उल्लेख गरेका छन्।

उनले यसपटकको चुनावी परिणामलाई असाधारण भन्दै नेपाली राजनीतिमा पुस्तान्तरणको सुरुआत भएको दाबी गरेका छन्। ‘यी दुईले संसारमैँ बिरलै देखिने असाधारण चुनावी परिणाम ल्याए। उनीहरूले राजनीतिक मात्र होइन उमेरगत पुस्तान्तरण पनि ल्याए,’ मिश्रले भनेका छन्।

सरकारको कामकारबाहीबारे मिश्रले केही सकारात्मक संकेतहरू पनि औँल्याएका छन्। उनका अनुसार सुकुम्वासी समस्या समाधानतर्फ सरकार उन्मुख हुनु ऐतिहासिक कदम हो भने सिंहदरबार र बालुवाटार बिचौलियाका लागि बन्दजस्तै देखिनु नयाँ संकेत हो। उनले लेखे, ‘मन्त्रीहरूको घाँटीमा केजी/केजीका माला देखिँदैन। मन्त्रीहरू उद्घाटन र अनावश्यक भेटघाटमा देखिँदैनन्, सबै आ-आफ्नो काममा व्यस्त देखिन्छन्।’

त्यसैगरी, उनले सरकारी वेतनधारीका दलीय भातृ संगठन खारेज गर्नुपर्ने मागसमेत दोहोर्‍याएका छन्। ‘सरकारी वेतनधारीका ‘दलीय’ भातृ संगठन सुशासनका धमिरा हुन्। ती जिउँदो रहेसम्म सुशासनको कल्पना गर्न सकिँदैन,’ उनले उल्लेख गरे।

मान-सम्मानकाे अति भाेकाे रास्वपाका ‘माननीय’प्रति शिक्षकहरुकाे आपत्ति

काठमाडाैँ । मान-सम्मानकाे अति भाेकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य विश्‍वराज पाेखरेल शिक्षकहरुकाे आलाेचनाकाे सिकार भएका छन् ।

आफू ‘माननीय’ भएकाे र आफ्नाे सम्मान नगरेकाे भन्दै एक प्रधानाध्यापकमाथि अपमानपूर्णकाे व्यवहार गरेकाे भिडियाे सार्वजनिक भएपछि माफी मागे पनि शिक्षकहरुले आलाेचना गर्न छाडेका छैनन् ।

नेपाल शिक्षक महासंघले रास्वपाबाट निर्वाचित सांसद  पोखरेलको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–२ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरलाई आफ्नो स्वागत गर्न नआएको भन्दै उनी जंगिएको घटनाप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

महासंघले विज्ञप्ति जारी गर्दै सांसद पोखरेलको सो हर्कत अशोभनीय भएको ठहर गरेको छ । विद्यालयको हाताभित्र प्रधानाध्यापकमाथि गरिएको सो व्यवहार शैक्षिक क्षेत्रको गरिमा र स्वतन्त्रतामाथि प्रहार भएको महासंघको जिकिर छ ।

‘हरेक पदाधिकारीको आफ्नो पदीय जिम्मेवारी र क्षेत्राधिकार हुन्छ । यस तथ्यलाई बिर्सेर माननीय पोखरेलबाट विद्यालय हाताभित्र प्रधानाध्यापक माथि गरिएको अशोभनीय व्यवहारले शैक्षिक क्षेत्रको गरिमा र स्वतन्त्रतामाथि कठोर प्रहार हुनुका साथै जननिर्वाचित प्रतिनिधिको गरिमा र विश्वाससमेत घाइते भएको हाम्रो ठहर छ’,विज्ञप्तिमा उल्लेख छ ।

महासंघले घटनाको घोर निन्दा गर्दै आगामी दिनमा सो किसिमको व्यवहार नगर्न आग्रह गरेको छ । सांसद पोखरेल गत वैशाख १० गते आफ्नो गृहजिल्ला पुगेका थिए । उनलाई स्वागत गर्न विद्यालयले भव्य कार्यक्रम आयोजना गरेको थियो । बाजागाजासहित विद्यालय भित्र्याइएका उनी आउँदा प्रधानाध्यापक र कर्मचारी अर्कै काममा व्यस्त थिए ।

आफूलाई स्वागत गर्न नआएको भन्दै उनले प्रधानाध्यापकलाई हप्काएका थिए । साथै, उनले आफू पूर्वअतिरिक्त महानिरीक्षक भन्दै धाक लगाएका थिए । सो भिडियो हाल सामाजिक सञ्जालमा भाइरल बनेको छ । सर्वत्र विरोध भएपछि उनले माफी मागेका छन् ।

डोजर चल्यो देशको ठाउँठाउँमा, भत्काइयो हजारौँ टहरा

काठमाडौं । बालेन प्रधानमन्त्री भएको ठ्याक्कै एक महिना हुँदा देशका विभिन्न ठाउँका सुकुम्बासी बस्तीमा डोजर चलेको छ । डोजरसँगै हजारौँ सुरक्षाकर्मी परिचालित छन् । एकातिर वर्षायाम सुरु भएको छ, अर्कातिर सुकुम्बासीहरूको धमाधम उठिबास भइरहेको छ ।
उनीहरूका वर्षौंदेखि बसेको घरटहरा गर्ल्यामगुर्लुम ढलेको छ । डोजर चलेको छ । पोकोपुन्तेरो बोकेर हिँड्नु परेको छ । पसिनाले उभ्याएको संरचना ढल्दा कतिपयको आँसु खसेको छ ।

काठमाडौंको थापाथली, गैरीगाउँ, शान्तिनगर, मनोहरा, गोठाटार, बुद्धचोकलगायत सुकुम्बासी बस्ती क्षेत्रमा डोजर चल्दा सरकारी जग्गा अतिक्रमणमा परेका देशका अन्य ठाउँमा पनि डोजर चलेको छ । रुपन्देहीको बुटवलमा उच्च अदालत परिसरमा अतिक्रमण गरिएको जग्गा क्षेत्रमा निर्मित संरचना हटाइएको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासको अनुरोधमा अतिक्रमणमा परेको उच्च अदालतकै जग्गा उपमहानगरपालिकाले आइतबार बिहान डोजर चलाएको हो।

डोजर चलाउने भएपछि त्यहाँका मानिसहरूले स्वस्फूर्त रूपमा सामानहरू सारेका थिए।

उपमहानगरपालिका स्रोतका अनुसार बुटवल उपमहानगरपालिका–४ जेसिज चोकबाट उत्तरतर्फको सडकमा रहेको पश्चिमतर्फ अतिक्रमणमा साबिकको कित्ता नं। ३९६ को २ बिघा ५ कट्ठा १४ धुर क्षेत्रफलमा रहेका अनधिकृत घर टहरा हटाउन थालिएको हो।

उक्त क्षेत्रमा निर्माण गरिएका घर टहरा हटाउन उच्च अदालत तुलसीपुर बुटवल इजलासको कार्यालयको भौतिक व्यवस्थापन समितिको वैशाख ९ गते बसेको प्रमुख जिल्ला अधिकारीसहितको बैठकले बुटवल उपमहानगरपालिकालाई अनुरोध गर्ने निर्णय गरेको थियो।

यस्तै, पर्साको गण्डक नहर छेउमा रहेको गुठीको ५ बिघा जग्गामा रहेका संरचना डोजर चलाएर भत्काइएको छ ।

मधेशका गृह संचार तथा कानुनमन्त्री फकिरा महतोको पहलमा बिहानैदेखि ७ वटा डोजर लगाएर अतिक्रमित जग्गा खाली गराउने काम भइरहेको पालिका अध्यक्ष जयवस्न तयादवले जानकारी दिए ।
त्यहाँ ३८० घर थियो ।

एलएचएस १९०३ वरिपरि पत्ता लाग्यो ४ ग्रह,नासाका वैज्ञानिक हैरान

एजेन्सी। वैज्ञानिकहरूले पृथ्वीबाट टाढा रहेको सानो र चिसो रातो बौना तारा एलएचएस १९०३ वरिपरि चार वटा ग्रहहरू रहेको नयाँ तारा प्रणाली पत्ता लगाएका छन्।

यो खोजले ग्रह निर्माणसम्बन्धी परम्परागत मान्यतालाई चुनौती दिएको बताइएको छ।

सामान्य खगोलशास्त्रीय मान्यताअनुसार ताराको नजिक ढुंगायुक्त ग्रहहरू हुन्छन् भने टाढा गएपछि ग्यासले बनेका विशाल ग्रहहरू पाइन्छन्। तर एलएचएस १९०३ प्रणालीमा भने यो क्रम उल्टिएको जस्तो देखिएको छ।

प्रारम्भमा अन्तरिक्ष तथा पृथ्वीमा आधारित टेलिस्कोपहरूको सहयोगमा तीन वटा ग्रह पहिचान गरिएको थियो। तीमध्ये एक ढुंगायुक्त र दुई वटा ग्यासयुक्त ग्रह रहेको अनुमान गरिएको थियो।

तर युरोपेली अन्तरिक्ष एजेन्सीको चिओप्स टेलिस्कोपको थप अध्ययनपछि चौथो ग्रहबारे नयाँ तथ्य सार्वजनिक भएको छ।

यो बाहिरी ग्रह सानो र घना देखिएकाले ढुंगायुक्त हुन सक्ने संकेत गरिएको छ। यससँगै सम्पूर्ण प्रणालीको संरचना ढुंगायुक्त, ग्यासयुक्त, ग्यासयुक्त र फेरि ढुंगायुक्त हुने देखिएको छ।

युनिभर्सिटी अफ वारविकका प्रोफेसर थोमस विल्सनका अनुसार यस्तो संरचना अत्यन्तै दुर्लभ मानिन्छ र यसलाई ‘भित्रबाट बाहिरतर्फ ग्रह निर्माण हुने प्रक्रिया’ को सम्भावित प्रमाणका रूपमा व्याख्या गर्न सकिन्छ।

वैज्ञानिकहरूका अनुसार ग्रह निर्माणको क्रममा बाहिरी भागमा आवश्यक पदार्थ सकिएपछि अन्त्यमा पनि सानो ढुंगायुक्त ग्रह बन्न सक्ने सम्भावना रहन्छ।

यस खोजले ब्रह्माण्डमा ग्रह प्रणालीहरूको निर्माण र विकाससम्बन्धी पुराना सिद्धान्तहरू पुनः मूल्यांकन गर्नुपर्ने संकेत दिएको वैज्ञानिकहरूको निष्कर्ष छ।

को हुन् ट्रम्पलाई गोली हान्ने ३१ वर्षीय ‘थोमस एलेन’ ?

एजेन्सी। अमेरिकाको वासिङ्टन हिल्टनमा शनिबार राति आयोजित वार्षिक ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर’का क्रममा सुरक्षा चेकपोइन्टमा भएको आक्रमणपछि ३१ वर्षीय कोल थोमस एलेन पक्राउ परेका छन्।

उनी क्यालिफोर्नियाको टोरेन्स निवासी रहेको र पेसाले शिक्षक भएको बताइएको छ। उनले सन् २०२४ मा ‘टिचर अफ द मन्थ’ अवार्ड प्राप्त गरेका थिए भने सन् २०१७ मा क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्नातक गरेको विवरण सार्वजनिक गरिएको छ।

वासिङ्टन महानगरीय प्रहरीका अन्तरिम प्रमुख जेफ्री क्यारोलले पत्रकार सम्मेलनमार्फत प्रारम्भिक जानकारी सार्वजनिक गरेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार, आक्रमणकारी सोही होटेलमा पाहुनाका रूपमा बसेको व्यक्ति भएको पुष्टि भएको छ। प्रहरीले उनको कोठा नियन्त्रणमा लिएर सिल गरेको छ र त्यहाँबाट सम्भावित प्रमाण तथा योजनासम्बन्धी सामग्री फेला पार्ने उद्देश्यले खानतलासी भइरहेको सीएनएनले जनाएको छ।

अधिकारीहरूका अनुसार, एलेनसँग सटगन, ह्यान्डगन तथा चक्कुहरू समेत रहेका थिए। उनले मुख्य सुरक्षा चेकपोइन्ट नजिकै सुरक्षाकर्मीमाथि गोली प्रहार गरेको बताइएको छ।

प्रहरीले घटनालाई एकल आक्रमणका रूपमा अनुसन्धान गरिरहेको छ। उनको कोठाबाट प्राप्त हुने प्रमाणहरूले उनको उद्देश्य तथा सम्भावित योजनाबारे थप स्पष्टता दिने अपेक्षा गरिएको छ।

घटनापछि उनलाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षणका लागि अस्पतालमा राखिएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार, बन्दुकधारीले गोली चलाउन थालेपछि उपस्थित पाहुनाहरू टेबलमुनि लुकेका थिए। एक सेक्रेट सर्भिस एजेन्ट नजिकैबाट गोली लागे पनि बुलेट-प्रुफ ज्याकेटका कारण उनी जोगिएका छन् र हाल उपचाररत रहेको जनाइएको छ।

अमेरिकी महान्यायाधिवक्ता ज्यानिने पिरोका अनुसार, संदिग्धविरुद्ध आग्नेयास्त्र प्रयोग र संघीय अधिकारीमाथि आक्रमणसम्बन्धी मुद्दा दायर गर्ने तयारी भइरहेको छ।

घटनापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा निकायको प्रशंसा गर्दै आक्रमणकारीलाई ‘अत्यन्त अस्वस्थ मानसिकताका व्यक्ति’ बताएका छन्।

मनोहरामा सुकुम्वासी बस्ती भत्काइँदै,सुरक्षा व्यवस्था कडा (तस्वीरहरू)

काठमाडौं । काठमाडौं र भक्तपुरको सीमा क्षेत्रमा पर्ने मनोहरा क्षेत्रको सुकुम्वासी बस्तीमा आइतबार बिहानदेखि पुनः डोजर चलाइएको छ।

दुवै जिल्लातर्फ पर्ने मनोहरास्थित बस्ती खाली गराउने कार्यलाई निरन्तरता दिइएको हो।

शनिबार बेलुका बस्ती खाली गराउने क्रममा अवरोध भएपछि घरटहरा भत्काउने काम रोकिएको थियो। त्यस क्रममा डोजर र सुरक्षाकर्मीमाथि ढुंगामुढा भएको बताइएको छ।

त्यसपछि रोकिएको अभियान आइतबार बिहानदेखि पुनः सुरु गरिएको हो।

बस्ती खाली गराउने क्रममा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र भक्तपुरबाट सुरक्षाकर्मी खटिएका छन् भने काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोली पनि परिचालन गरिएको छ।

उक्त क्षेत्रमा केही पक्की संरचनाहरू समेत बनेको पाइएको छ।

यसअघि सरकारले काठमाडौंका थापाथली र गैरीगाउँका सुकुम्वासी बस्तीहरू पनि खाली गराइसकेको थियो।

एसियन बीच गेम्स २०२६ : महिला कबड्डीमा नेपाल समूह ‘बी’ को विजेता

काठमाडौं।  चीनको सान्यामा जारी छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ अन्तर्गत महिला कबड्डीमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै समूह ‘बी’ को विजेता बनेको छ।

समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई ३८-३६ को रोमाञ्चक अन्तरले पराजित गरेको हो। यससँगै नेपाल समूह चरणका सबै खेल जित्दै अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

बंगलादेशविरुद्धको खेलमा नेपालले पहिलो हाफमा १९-१७ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा सो अग्रता जोगाउँदै जित सुनिश्चित गरेको थियो।

यसअघि समूह चरणको पहिलो खेलमा नेपालले चाइनिज ताइपेइलाई ४८-३२ ले पराजित गरेको थियो। दोस्रो खेलमा थाइल्यान्डलाई ४९–३३ ले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको थियो।

समूह चरणमा अपराजित रहँदै शीर्ष स्थान हासिल गरेको नेपाल अब सेमिफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ।

ट्रम्पलाई गोली हान्ने पक्राउ

एजेन्सी।  वासिङ्टन डीसीमा रहेको ‘वासिङ्टन हिल्टन’ होटलमा आयोजित ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर’ कार्यक्रमका क्रममा गोली चलाउने व्यक्ति पक्राउ परेका छन् ।

गोली चलाउने क्यालिफोर्नियाका ३० वर्षीय एक पुरुषलाई पक्राउ गरी प्रहरी नियन्त्रणमा राखिएको छ।

सीएनएनका अनुसार, कार्यक्रम चलिरहेका बेला अचानक गोलीको आवाज सुनिएपछि अमेरिकी ‘सीक्रेट सर्भिस’ का सुरक्षाकर्मीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तत्काल सुरक्षित स्थानमा लगेका थिए।

घटनाको समयमा राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति जेडी भेन्स तथा अन्य मन्त्रीहरू सबै सुरक्षित रहेको जनाइएको छ।

यो घटनालाई राष्ट्रपति ट्रम्पमाथि भएको तेस्रो सुरक्षा चुनौतीका रूपमा उल्लेख गरिएको छ। यसअघि जुलाई २०२४ मा पेन्सिलभेनियाको चुनावी र्‍याली र सेप्टेम्बरमा फ्लोरिडाको गल्फ कोर्समा पनि उनीमाथि आक्रमण प्रयास भएको बताइएको छ।

घटनापछि राष्ट्रपति ट्रम्पले आफू ह्वाइट हाउस फर्किने र चाँडै पत्रकार सम्मेलन गर्ने बताएका छन्। रोकिएको डिनर कार्यक्रम ३० दिनभित्र पुनः आयोजना गरिने जनाइएको छ।

२ हजार ४९२ जना कारबाहीमा

काठमाडौं।  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने २ हजार ४९२ जना चालक कारबाहीमा परेका छन्।

ट्राफिक नियम उल्लङ्घनका घटनाबाट राज्यकोषमा रु ५ लाख ४ हजार राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारबाहीमा परेकामध्ये ६८ जनाले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएका थिए भने २७५ जनाले नियम विपरीत ‘राइड सेयरिङ’ सेवा सञ्चालन गरेका थिए। त्यस्तै १४५ जनाले ट्राफिक संकेत उल्लङ्घन गरेका र १८३ जनाले तीव्र गतिमा सवारी चलाएका थिए।

यसैगरी लेन अनुशासन पालना नगर्ने ९६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७५ जना तथा तोकिएको स्थानमा यात्रु चढाउने-ओराल्ने नियम उल्लङ्घन गर्ने ५९ जना पनि कारबाहीमा परेका छन्। अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने १ हजार ४१३ जनालाई समेत ट्राफिक प्रहरीले कारबाही गरेको जनाइएको छ।

‘उपरखुट्टी’वाला तस्बिर सार्वजनिक भएपछि विवादमा ऊर्जामन्त्री श्रेष्ठ (भिडियाे)

काठमाडौं । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँगको संवादमा उपरखुट्टी लगाएको तस्बिर सार्वजनिक भएपछि आलोचना भएको छ ।

कुनै पनि देशका कूटनीतिज्ञसँग संवादमा रहँदा उपरखुट्टी लगाउनु कूटनीतिक आचरणविपरीत मानिन्छ । तर, भारतीय राजदूत श्रीवास्तवसँगको संवादको क्रममा मन्त्री श्रेष्ठले उपरखुट्टी लगाएको देखिन्छ ।

नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले मन्त्री श्रेष्ठको कूटनीतिक आचरण र शिष्टाचारअनुकूल नदेखिने उक्त तस्बिर सार्वजनिक भएपछि कडा शब्दमा आलोचना गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘सामान्यतया साधारण भेटघाटमा पनि समकक्षको अगाडि उपरखुट्टी लगाएर बस्नु सभ्य मानिँदैन ।’

त्यसमाथि कूटनीतिक हिसाबले मित्र राष्ट्रका राजदूतको अगाडि मन्त्रीले उपरखुट्टी लगाएर बस्नु त झन् शिष्टाचारअनुकूल नमानिने बताए ।

उनले ‘अरुको अगाडि दब्नु हुँदैन भन्ने अर्थ अशिष्ट हुनु पनि होइन’ भनेका छन् ।

मन्त्री श्रेष्ठ र भारतीय राजदूत श्रीवास्तवबीच शुक्रबार भेटवार्ता भएको थियो ।

बालेन शासनमा ‘डोजर, लठ्ठी र बन्दुकको शासन सुरु भयो’ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले बालेन सरकारको नीतिप्रति तीव्र असन्तुष्टि व्यक्त गरेको छ। सुकुम्बासी बस्तीमा डोजर चलेपछि साम्पाङको यस्तो अभिव्यक्ति आएको हो ।

उनले ‘अबको पाँच वर्ष गरिब, निमुखा, साना व्यवसायी, अव्यवस्थित बसोबासी र सुकुम्बासीहरूले देख्ने भनेको ‘डोजर, पुलिस, लठ्ठी, बुट, बन्दुक र जेलखाना’ मात्रै हुने” दाबी गरेका छन्।

शनिबारदेखि काठमाडौंको खोला तथा नदी किनारमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलेपछि साम्पाङ बालेन सरकारप्रति क्रुद्ध छन् ।

साम्पाङले राज्य संयन्त्रको प्रयोग गरिब र विपन्न वर्गविरुद्ध केन्द्रित हुने भन्दै आगामी दिनमा दमनमुखी नीति बढ्न सक्ने आशंका व्यक्त गरेका छन्।

‘मैले चुनाव ताका निक्कै भनेको थिएँ, तर बुझेनन्, अब चेत्नेछन्,’ भन्ने उनको भनाइले जनमतप्रति निराशा र असन्तुष्टि दुवै झल्काउँछ।

प्रधानमन्त्री बालेनको निर्देशनपछि हटाउन थालिएको सुकुम्बासी बस्ती आज पनि हटाइने छ ।

मनोहरा खोला क्षेत्रको बुद्धचोक, गोठाटारलगायत क्षेत्रको बस्ती हटाइने भएको हो । त्यसका लागि बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी तैथान गरिएको छ ।

राइटरबाजे

मानवसमाजबाट यति टाढा पृथ्वीको एउटा कुनामा बसेर म आफ्नो शरीरलाई यसो निहार्छु । अब यसमा, यसका रेशा-रेशामा महारोगका कीटाणु स्याउँस्याउँ गर्दै रङमगिरहेका छन् । यो डँडो खोरण्डो शरीर पटपट फुट्दैछ । कतिसम्म टलपल गरिरहेको पीप, पापको घडा फुटेको जस्तै ठाउँ-ठाउँबाट बगिरहेको छ । दृष्टि पनि क्षीण हुँदै आएको छ । शायद यो शरीरको अन्तिम दिन पनि हो । यो शरीरको आरक्षण जसलाई मैले एकान्त मनले राइटरबाजेलाई अर्पिएर पनि उनको एकलौटी हुन सकिनँ । धेरैको उपभोगमा यसले अविराम किसिमले आफूलाई विमुक्त गरिरह्यो ।

पाप-पुण्यको लेखाजोखा मैले गर्न जानिनँ । जसले शायद यसको वास्तविक कुरो मलाई बताउन सक्थे, तिनी अब छैनन् । राइटरबाजेलाई यही हातले- जो आज डुडो छ- धेरै पहिले सेलाइसकेको छ । हे भगवान्…तर भगवान् पनि त मेरो विश्वास र अविश्वासको द्विधामा केही झलक्क भएझैं केही देखिया लाग्ने हो कि होइन कि भनेजस्तो कुनै पदार्थ-अपदार्थका बीचको केही कुरा मात्र आज मेरा लागि छ । राइटरबाजेको विश्वासको तर्फबाट म आज पुकार गर्छु- हे भगवान् ! राइटरबाजे भन्नुहुन्थ्यो- ईश्वर छन् र भन्नुहुन्थ्यो- पाप-पुण्य पनि छ, किनभने ईश्वर छ ।

आज जब मेरा पिलपिलाउँदा आँखा सामुन्नेको यो विराटतामाथि धमिलिंदै परिरहेका छन्, तब मलाई अहिलेको निर्भाव बिदाइको क्षणमा केवल दुई अनुभवले व्याप्त गरेको छ । राइटरबाजेको प्रेम र गलित कुष्ठको असाध्य रोग । यही शरीरले यी दुवै कुरा अनुभव गर्यो । अन्तिम क्षणमा किन एकाग्रतासँग ईश्वरलाई सम्झिन खोज्दा केवल राइटरबाजे र कुष्ठको अनुभव मात्र मलाई हुन्छ !

के मेरो ईश्वरको पूर्ति ममा यी दुवै वस्तुको माध्यमबाट भएको छ ? मेरो सम्पूर्ण जीवनको अनुभवको केन्द्र मैले आर्जन गर्न सकेको सार्थकता यही दुई कुरा हो । नत्र राइटरबाजे र कुष्ठ मेरो जीवनबाट झिकिएमा जुन नग्न रिक्तताका सामु म पहिलो दिन मातृगर्भबाट पृथ्वीमा अवतीर्ण भएँ त्यही रिक्तताका साथ म आज पृथ्वीबाट फर्किरहेको छु । जीवनमा के पाइस् तैंले- कसैले मसँग प्रश्न गयो भने मैले भन्नुपर्छ- प्रेम र कुष्ठ ।

ईश्वरलाई पाइनस् ?

जीवनको अनुभवको सम्पूर्णता नै यदि ईश्वरलाई पाउनु हो भने प्रेम र कुष्ठमा उसलाई पाएको भन्न सक्छ ।

पाप-पुण्य ?

प्रेम र कुष्ठलाई कुनै अर्को संज्ञा दिने हो भने अर्को नाउँबाट- मेरो सञ्चित अनुभव प्रेम र कृष्ठलाई सम्बोधन गर्न सक्छु ।

नत्र राइटरबाजेको प्रेम र कुष्ठ रोगको पीडालाई बाद गरेदेखिन्, जस्तो निर्दोष भएर म जन्में उस्तै निर्दोष भएर आज म मर्न लगिरहेको छु ।

काठमाडौंको गल्लीमा थाङनु लाएर माग्दै हिंडिरहेकी एउटी भोटिनी बालिकालाई तीन नम्बर पहाडबाट जागीर खान शहरमा आएका राइटरबाजेले एक दिन अड्डाबाट फर्किंदा दया गरेर आश्रय दिँदै आफ्नो घरमा नल्याएको भए शायद त्यसले प्रेम नै पाउने थी, न कुष्ठ रोग नै । अरूको अनुभवले जे भनोस् मेरो अनुभवले त यही बताउँछ कि कुनै ठूलो कुरो नदिएर अर्को ठूलो-ठूलो कुरा पाइँदैन । त्यसै पाइँदैन । त्यसका लागि मूल्य चुकाउन तयार हुनुपर्छ ।

त्यसैले होला कुष्ठलाई प्रेम उपलब्ध हुने थिएन ? थिएन शायद । या थियो कि ? जीवनको यो सानो अवधिमा सत्यको एकचोटि मात्र प्रयोग सम्भव हुन्छ ? एउटा जीवन- एउटा विशिष्ट अनुभव- शृङ्खला र एउटा त्यसको विशिष्ट सत्यानुभूति । अरूहरूको जीवनको सत्य मेरा लागि असङ्गत छ; बिलकुल निरर्थक । अरूहरूको जीवनमा यदि प्रेम र पीडा सँगसँगै गएन भने के भो त मलाई । मेरा लागि त प्रेम र कोढ जम्ल्याहा भएर सँगसँगै आए ।

बाटामा राइटरबाजेले सोधे- किन मागेको ?

मैले भनें- भोक लागेर ।

त्यस बेलुका म राइटरबाजेकहाँ आएँ । र बिस्तार-बिस्तार उनको गृहस्थीको एउटा अङ्ग हुन पुगे ।

मायाका कुरा गर्ने हो भने उनले नै पहिले यसको सूत्रपात गरे । मुखले त केही भनेनन्; तर व्यवहारमा उनबाट मायाबाहेक मैले केही पाइनँ ।

शहरको गल्लीबाट टिपिएर राइटरको घरमा स्थापित हुन पुग्दा मलाई अचम्म लाग्यो; तर निमुखा ब्राह्मणले मेरो खाने-पिउने, लुगाफाटा र अरू साना-साना सुविधाका कुरामा ध्यान दिएको देख्दा म सहजै उनीसँग हेलमेल गर्न थालें । म चौध वर्षकी हुँदी हुँ । दरिद्रताले सिकुडिएको मेरो शरीर फाटेको थाङ्नामा उमेरभन्दा धेरै सानो लाग्थ्यो । फेरि मैले कद पनि ठूलो कहाँ पाएँ र ? पछि बिस्तार-बिस्तार शरीरले भोजन पाएर फक्रिन थाल्यो । र राइटरबाजेसँगको सहवासले बुद्धि र मन पनि शरीरसँगसँगै हुर्किन थाल्यो ।

दुब्ला, पातला, खपटे राइटरबाजे जहाँका तहीं नै रहिरहे; म भने बढ्दै गएँ । अन्त्यमा यो अवस्था भयो, उनको गृहस्थीको सम्पूर्ण भारलाई आफ्नो काँधमा स्वाभाविक ढङ्गबाट लिएर उनीसँग केही कडाइको व्यवहार गर्दै म भन्न थालें- यो एक कचौरा दूध खानैपर्छ, राइटरबाजे ! नत्र जीउ कसरी लाग्छ ? उनी नबोली मेरो हातबाट कचौरा लिएर दूध पिउँथे । म उभिएर हेरिरहन्थें ।

पुरुष के सबै त्यस्तै हुन्छन् ? अबोध निरीह अन्जान ? जसलाई एउटी नारीको आड आवश्यक पर्छ ? जसलाई खाने-लाउने ठेगाना हुँदैन ? जो पहिलो मौकामा नै सहजसँग आफूलाई एउटी नारीको जिम्मामा सुम्पिएर निर्धक्क हुन्छ ? के नारीको स्वाभाविक धर्म पनि एउटा पुरुषको हेरविचारमा आफूलाई निमग्न पारेर अपार सन्तोषको सास फेर्नु हो ?

म एउटी ग्रामीण भोटिनी बालिका, आशिक्षित, केही नजान्ने । मैले स्त्री चोला लिएर जन्में; र शरीरधर्मअनुसार हुर्किंदै गएँ । र त्यही प्राकृतिक नियमअनुसार एउटा पुरुषको सहारामा निर्धक्क भएर उसैलाई ममत्वको भरोसा दिँदै, उसको हेरविचार गर्दै उसको निरीहतालाई यथासाध्य निवारण गर्दै उसको सानो जीवनमा पूर्णरूपले स्थापित भएँ । मलाई लाग्न थाल्यो- विचरा, म नभएको भए राइटरबाजेको के गति हुने थियो !

राइटरबाजेले पनि ममाथिको आफ्नो निर्भरताको पूरा प्रमाण दिएर एक दिन भने- ल लेऊ, मेरो यस महिनाको तलब । र बाकसको साँचो पनि । अब तलब आउनेबित्तिकै तिम्रै हातमा राखिदिन्छु ।

राइटरबाजेको घरमा बिस्तार-बिस्तार म स्वामिनीजस्ती त भइसकेकी थिएँ, र मेरै खटन त्यहाँ चल्थ्यो; उनमाथि पनि मेरै खटन । तर त्यस दिन साँचोका झुप्पा र रुपियाँ बटुली मेरो हातमा उनले राखिदिंदा मलाई लाग्यो कि हाम्रो पुरुष-नारीको सम्बन्धमा एउटा अविच्छिन्न घनिष्ठता थपियो ।

मैले रुपियाँ र साँचो हातमा लिन त लिएँ; तर मेरो मुख त्यसै रातो भयो र लाजले मुन्टो फर्काएँ । उनको वाणीमा पनि एउटा अनौठो, रसाएको घोक्रोपन थियो जब उनले भने – किन लाज मानेकी ?

लाजले खप्न नसकेर, भागेर म आफ्नो कोठामा आएँ, हातको बटुआ र साँचोको झुप्पालाई हेरिरहें । मेरो मन त्यसै रमाइलो भएर फुरुक्क फुरुक्क हुन्थ्यो । हठात् मलाई लाग्यो, मेरो स्वयंवर भएको छ ।

आखिर विवाह- अग्निका अगाडिको मन्त्रपाठ या कुनै रूखमुनि भएको साल्यादान-प्रदान, या चूलोको तीनवटा पत्थरको पूजा-अर्चना- पुरुष-नारीको आन्तरिक सम्बन्धको प्रकटीकरण मात्र होइन र एक प्रकारको घोषणा ? मुख्य

मुख्य विषय के हो ? पुरुष र नारीको तात्त्विक सम्बन्ध या त्यसको घोषणा ? प्राण या शरीर ?

त्यस दिनको मेरो आनन्द र साथै उद्विग्नताको अन्त्य थिएन । प्राण र शरीर ? मन या कायाका प्रश्नहरूले बारम्बार मलाई उद्वेलित गरिरहे । कायाको सहज स्वभावलाई स्वीकार गरेर मैले मनमा उठी उठी रहने प्रश्नलाई सदाका लागि समाधान गर्दै म तत्काल गएर आफूलाई राइटरबाजेका लागि सम्पूर्ण रूपले अर्पित गर्न सक्थें । मेरो प्रफुल्ल यौवनको स्वाभाविक आदेश पनि त्यही थियो तर शरीरको मागलाई सहज ढङ्गले पूरा गर्न खोज्दा मनमा किन हो किन प्रश्न उठ्थ्यो- शरीरभन्दा अर्को पनि कुनै आधार हुन्छ कि हुँदैन प्रेमको, ? कि शरीरको वासनामा मात्र स्थापित भएर रहन्छ हामी मानिसको प्रेम ?

तर मेरो सम्बन्धमा प्रेममा शरीरको प्रश्न आज मात्रै एक्कासि उठ्न गयो जब मलाई राइटरबाजेको हातबाट साँचोको झुप्पा लिंदा मलाई मेरो स्वयंवर भएको अनुभव भयो । त्योभन्दा पहिले प्रेम केवल मन र प्राणको स्तरमा सीमित थियो; शारीरिक स्तरमा आउन पाएको थिएन; या कमसेकम मेरो शरीरलाई त्यो प्रेमको सचेतनता थिएन । त्यस दिन शरीरको क्षेत्रमा पनि मेरो प्रेम प्रवेश गरेर ममा एउटा उद्विग्नतापूर्ण निस्तिम आनन्दको वेग उत्पन्न गर्न थाल्यो । जहाँ शरीर र मन एकान्त ढङ्गले जसका लागि अर्पित भइसकेको छ र जब आज गार्हस्थ्य-जीवनको प्रतीक साँचोको झुप्पा पनि मलाई प्राप्त भइसकेको छ भने अनिश्चिततामा उठी उठी रहने प्रश्नहरू किन मेरो मनमा आइरहन्छन् ? मेरो त्यसै दिन स्वयंवर भएको भन्ने गम्भीर अनुभव हुँदाहुँदै पनि पत्नीको आसनमा उक्लिन खोज्दा मलाई द्विविधा भइरह्यो ।

पत्नी भएको दिन मलाई त्यो घरमा पहिलोचोटि प्रवेश गरेको सम्झना भयो । निर्बोध भिखारिनी भोटिनी बालिकाले यहाँ प्रवेश गरेकी थी र त्यही केटीले आज गृहस्वामिनी भएर यस घरको साँचोको झुप्पालाई आफ्नो मुट्ठीमा राखेकी छ । यो के हुन लागिरहेछ ? के यो हुने कुरा हो ? के यसमा अस्वाभाविकता छैन ? अप्रासङ्गिकता ? फेरि ब्राह्मण पुरुष र भोटिनी नारीको वैवाहिक सम्बन्ध सामाजिक दृष्टिमा बेमेल कुरा होइन र ?

हाय ! मेरा पुरुष पनि- मेरा वर- मबाट वर्णित पनि त्यस्तो एउटा निर्धो व्यक्ति छ जसले, मैले आफ्नो उद्विग्नता र छटपटीलाई जसको अगाडि पोखें भने, उत्तरमा केवल आफ्ना ठूला-ठूला विवश आँखा मतिर उठाउने मात्र छ । स्वयंवरको दिनमा तमाम समस्याको मैले स्वयं आफैँले समाधान गर्नुपरेको थियो । फेरि यो समस्या त नारीको मनको समस्या हो; पुरुषको तर्क यहाँ काम लाग्ने थिएन ।

त्यस दिन मेरो जीवनको सबभन्दा ठूलो निर्णयमा मैले पुग्नु थियो, तर त्यहाँ मेरा त्यस्ता कोही पनि थिएनन् जोसँग म सल्लाह लिन सकूँ । कस्तो विडम्बना कि मेरो स्वयंवर भएको दिन मैले एक्लो हुनुपर्यो- पत्नीत्वको प्रथम क्षणमा सबै नारी एकचोटि शायद नितान्त एक्ली हुन्छे । मानव नियति नै यस्तै छ क्यारे कि जीवनका महान क्षणमा त्यो एक्लो हुन्छ, त्यसले आफ्नो निर्णय एक्लै गर्नुपर्छ- अरू कसैको सल्लाह त्यसलाई काम लाग्दैन, अरू कसैको जीवनको उदाहरणले त्यसलाई बाटो देखाउँदैन ।

हेलम्बुमै घरगृहस्थी गरेर बसेकी मेरी जेठी दिदी- चारवटा पतिकी पत्नी र तीन सन्तानकी माता, उनले मलाई स्नेहसँग भनेकी थिइन्- बैनी, किन यसरी भौंतारिएकी ? यहीं आइज, म जस्तै बिहे गरेर बस् । मेरा देवरहरू पनि असल छन्, खान-लाउन कमी छैन, कोदो, गहुँ, जौ, फापर, मनग्य हुन्छ ।

दिदीले मलाई माया गरिन्, स्नेहको हातले मेरो मुख सुमसुम्याइन्, मलाई पीर परेको छ भन्ने पनि बुझिन् तर के पीर, कस्तो पीर, त्यसको कुनै पनि अनुभव उनलाई भएन । उनले मलाई नबुझेर अलमल्लमा परेर भनिन् – बैनी, तँ कस्तरी बदलिछस्, के भो तँलाई, रक्सी-जाँड नखाने रे; यो जाडोमा पनि ननुहाई नहुने रे तँलाई । हामी भोटिनीलाई आफ्नै व्यवहार छ, हामीले बाहुनी हुन खोजेर हुन्छ र ?

म माहिली दिदीकहाँ पनि गएकी थिएँ । मेरी माहिली दिदी – केही मोटी, सधैं जसलाई हाहा, हीही गरिरहनुपर्थ्यो- जो अहिले बौद्धमा एउटा भट्टी थापेर बसेकी छन् । उनले पनि बडो स्नेहसँग भनेकी थिइन् – मसँगै बस्, बैनी ! यो भट्टीमा काम धेरै बढिरहेको छ; ग्राहक पनि थपिंदैछन् । हामी दिदी-बैनी मिलेर रोजगार बढाउँला । म एक्ली यो एक्लो शरीरले भ्याउन नसक्ने भयो ।

मैले जब उनलाई आफ्नो राइटरबाजेको कुरा भनें, उनले हाँसेर भनिन् – के भएको छ तँलाई ? एउटा बाहुनको तँ कुरा गर्छेस् । यहाँ मसँग बस् भनेको । त्यस्ता राइटरबाजे कति आउँछन् कति । सधैं साटोफेरो गर्न खोजिस् भने पनि पाउँछेस् ।

मैले उठेर भनें – दिदी, अबेर हुन थाल्यो । म जान्छु ।

दरबारकी मेरी साहिंली दिदीलाई देखेर त म दङ्ग परें । कत्रो ठूलो दरबार, नोकरचाकर, दास-दासीले घेरिएकी, हीरा-जवाहरातले झकमक्क भएको मेरी साहिंली दिदीको निवासस्थान । उनले पनि बडो मायासँग मलाई भनिन् – यहीं आइज, तँ पनि दरबार पस् । हेर् जाबो एउटा ब्राह्मणको कुरा नगर् । तँ राम्री छस्, यहाँ दरबारमा छिटै आफ्नो ठाउँ बनाउन सक्छेस् । म नै यहाँ पसेको कति भयो र, रानी भएर बसेकी छु । राजकुमार यहाँ थुप्रा छन्… जाबो बाहुन… के भएको छ हँ तँलाई ?

दिदीहरूले मलाई माया गरे र मेरो सहायक हुन चाहे तर मैले उनीहरूको सहायता पाउन सकिनँ- दिन चाहने हात र पाउन खोज्ने हात एक स्थलमा भएनन् । प्रेमसम्बन्धी प्रश्न गर्दा जेठी दिदी आफ्ना चार लोग्नेलाई देखाएर भन्थिन् – कस्तो प्रेम भनेको तेरो ? दुलाहा खोजेर त्योसँग राति सुत्नु, त्यही त हो नि प्रेम भनेको । अरू के खोज्छेस् त्यसमा ? जुन पुरुष पनि एउटै हो- बिहा गरेर व्यवहार चलाउनुपर्छ बुझिस् ।

माहिली दिदीले पनि भनिन् – एउटा बाहुन राइटर र अर्को खत्री कप्तान या राणा जर्नेल अर्को नेवार सरदार सबै पुरुष एउटै हुन् । उनीहरू यो भट्टीमा पालैसँग आएर मसँग रमाइलो गरेर गएका छन् । साँच्चै क्यै फरक छैन बैनी ! क्यै फरक छैन ।

साहिंली दिदीले पनि यस्तै कुरा गरेकी थिइन् – हाम्रो अरु के छ र ! यो राम्रो शरीर त हो नि ! यसलाई बुद्धिमानी किसिमबाट प्रयोग गर्न सक्नुपर्छ । हेर्न, यही शरीरलाई कसैलाई दिएर, कसैलाई दिनदेखि बचाएर दरबारको सिंढी उक्लिंदै म राजाकी रानीसम्म भएकी छु । शरीरलाई बजाउँदै हिंड्न खोजेकी भए मलाई कसले माथि उकाल्थ्यो ? बुझिस् !

मैले कसैको कुरा बुझ्न सकिनँ । आजसम्म बुझ्न नसकेर अन्तिम क्षणमा पुग्न थालेकी छु । दिदीहरूका कुराबाट यतिमात्र बुझ्या जस्तो लाग्यो, मानिसको महान् निर्णय उसको आफ्नो व्यक्तिगत निर्णय हुन्छ । कसैको उदाहरण या सल्लाह उसलाई काम लाग्दैन ।

राइटरबाजेकहाँ फर्किंदा रात परिसकेको थियो । उनी आफ्नो कोठामा बिछ्यौनामा लेटेका थिए । म कोठाभित्र पसें र भनें – म आएँ ।

मेरो हृदय र शरीरका बीचको द्वन्द्व, मेरा मनका शङ्का-उपशङ्का, दिदीहरूका आग्रह-सल्लाह मेरा जीवनका यावत् प्रश्नहरू त्यस रात राइटरबाजेको शय्यामा आफूलाई समर्पण गर्दा लोप भएर गएँ । निश्चिन्तभावले निर्धक्कतासँग मनसा वाचा कर्मणा, पत्नीत्वको मर्यादित स्थानलाई ग्रहण गर्दा मलाई एउटा पूर्णसार्थकताको अनुभव भयो । भोलिपल्ट कोठाबाट निस्किंदा शरीर र मनले सम्पूर्ण पत्नी भएर निस्कें ।

त्यसो त हाम्रो व्यवहारमा बाहिरी केही फरक आएन; पहिले पनि छिमेकका सबैले हामीलाई पुरुष र पत्नीको रूपमा कल्पना गरेर केही कुरा काटेका पनि थिए – राइटरले एउटी राम्री भोटिनीलाई राखेको छ । पतिपत्नी भएर पनि हाम्रो व्यवहार उस्तै थियो । तर म एउटा नूतन मर्यादाले अनुप्राणित भएर एउटा दैवी सुखको बोधले परिव्याप्त भएकी थिएँ । पत्नीका दिन गृहस्थीको कार्यमा सङ्गीतमय भएर सहजै बित्छन् ।

यथासमयमा हाम्री एउटी छोरी पनि जन्मी । मेरो सुख चरमसीमामा पुगेको थियो । पत्नीत्व र मातृत्वको सुख- प्रिया र माता हुने भाग्य ! मलाई लाग्यो, म देवीदेवताको समकक्षमा छु । अनन्त छ मेरो सुख र सन्तोष । ठूलो भाग्य लिएर म आएकी छु । विपत्तिबाट निर्वाचित भएर आएकी छु – ईश्वरबाट नै रोजिएकी । के त्यस प्रकारको मेरो विचार, मेरो त्यस आनन्दावस्थामा स्वाभाविक थिएन र ? अभिमान र गर्वले फुर्किएकी होइन म । परमानन्द र परम् सन्तोषमा स्वाभाविक रूपबाट आउने विचार होइनन् र यी ? जब म आफ्नी दिदीहरूलाई सम्झिन्थेँ, मलाई लाग्थ्यो- हाय ! उनीहरू कत्रो महान् सुखबाट वञ्चित् भैराखेका छन् ?

तर मेरो सुखलाई शायद भगवान्ले पनि हेर्न सकेनन् । उनका हातका खेलौना रे हामी – के हामीलाई त्यो सुखको चरमसीमामा पुग्ने अधिकार छ जहाँ हामी र ईश्वरका बीचको पार्थक्य रेखा धूमिल भएर मेटिन्छ ? मानव सुखले पनि के विधाताको ईर्ष्यालाई कोट्याउँदैन ? या नियतिबाट रोजिएकी भनेर जस्तो लहरलाई समुद्रले धारण गर्छ आफ्नो आनन्दको लहरलाई धारण गर्ने मेरो शरीरले कुष्ठको साक्ष्यलाई पनि सदाका लागि वहन गर्नुपर्ने एउटा ईश्वरी नाम हो ? प्रेम गर्न चहन्छौ भने त्यसका लागि उपयुक्त मूल्य पनि चुकाउनुपर्छ । ईश्वरको समकक्षी हुनु छ भने नर्कको बाटो हिंड र गरलपान गर्न नबिर्स ।

यी कुरा त मैले आफ्नो जीवनका घटनाबाट झिकेका सत्य हुन् । मेरो सत्य । प्रेमको वरदान र कुष्ठको अभिशाप- मेरो जीवनको यमज सत्य । आनन्द र पीडा, स्वर्ग र नर्क मानव जीवनको एउटै गर्भस्थानमा अङ्कुरित हुन्छन् र एउटै जीवनरसले दुवैले समान पोषण प्राप्त गर्छन् ।

जीवनको यस्तो निर्मम नियम नहुँदो हो त हाम्रो तीन प्राणीको अनन्त सुखमा हठात् बज्रपात हुन थाल्ने थिएन । पहिले हाम्री छोरी मरी । मातापितालाई ठूलो वियोगमा पारेर कुन-कुन महापथमा प्रस्थान गरी । त्यसको केही महिनापछि राइटरबाजे, मेरा पति, मेरो जीवनको एकमात्र आधार पनि क्षयरोगले शय्याग्रस्त भए । उनको जागीर गयो; जीवन निर्वाह गर्न पनि गाह्रो हुन थाल्यो ।

हे भगवान् ! किन तिमीले सुख-दुःखलाई अनुभव गर्न सक्ने क्षमता भएको चेतना प्राणीलाई कर्तव्याकर्तव्यको विवेचन-शक्ति दिएनौ ! पाप र पुण्य दुई विरोधी तत्त्व जीवनमा सङ्घर्षरत छ भन्ने त शायद ज्ञान दियौ तर कुन पक्षमा पुण्य छ र कुन पक्षमा पाप; त्यसलाई छुट्टयाउने शक्ति दिएनौ । रामले बालि र अङ्गदलाई छुट्टयाउन सकेनन् रे र त्यसो हुनाले उनले अङ्गदलाई माला पहिराएका थिए भन्छन् । हाम्रो जीवनमा पुण्य पनि त्यस्तै माला धारण गरेर किन आउँदैन- किन पाप र पुण्य एउटै अनुहार लिएर हाम्रा सामुन्ने खडा हुन्छन् ? कि पुण्य भनेर हामी पापलाई अङ्कमाल गर्छौं र पाप सम्झिएर पुण्यलाई बहिष्कार गर्छौं ? कि पाप-पुण्य भन्ने कुनै तथ्य छैन मानव जीवनमा ? सपनामा देखिएका दुई प्रकारका भ्रम हुन् पाप र पुण्य ?

जे होस्, यस कुराको उत्तर नपाएर म आज जीवनको अन्तिम क्षणमा पुगिसकें । हे भगवान् ! के हो पाप, के हो पुण्य ?

आज म यो विश्वसँग क्षमायाचना गर्छु । सबैसँग म माफी चाहन्छु र हे भगवान् ! तिमीसँग पनि । मैले त्यस दिन गर्नुपरेको निर्णयका लागि शायद मैले सबैसँग क्षमायाचना गर्नु छ- संसारका प्रत्येक प्राणीसँग; यो जङ्गल, पर्वत, यो कलकल निनादिनी निर्मल जलवाहिनी गङ्गा, आकाश सबैको क्षमा चाहन्छु म । यदि मैले नारीको चोला धारण गरेर नारीधर्मको प्रेमको मर्यादालाई अक्षुण्ण राख्न खोज्दा या पाप र पुण्यलाई छुट्टयाउन नसक्दा मबाट कहीं कुनै अनुचित पापकर्म हुन गएको छ भने । आखिर त्यो मेरो निर्णय असाधारण अवस्थाको निर्णय थियो जुन अवस्थामा पाप र पुण्य सादृश्य भएर हाम्रा सम्मुख उपस्थित हुन्छन ? पाप-पुण्य एउटै अनुहार हुन्छ ।

राइटरबाजेको अवस्था दिनप्रतिदिन बिग्रँदै गयो । केही दिन त घरमा मालमत्ता, गहनागुरियाहरू बेचेर औषधिको व्यवस्था गरें । पछि त्यो साधन पनि समाप्त भयो तर राइटरबाजे झन्झन् रोगग्रस्त हुँदै गए । मेरा कोही थिएनन् । एकदम अबला । के गरूँ ?

त्यस समय मेरो धर्म के थियो मलाई अझै थाहा हुन सकेको छैन । मर्न लागेको आफ्नो पुरुषलाई स्वयं आफ्नो उत्सर्ग गरेर पनि उसलाई बचाउन चाहनु के नारीको धर्म होइन ? धर्म-अधर्मका कुरा, नीति-अनीति र सदाचार-दुराचारका प्रश्नहरू पनि मलाई लाग्यो जुन सङ्कटको स्थितिमा म पुगेकी थिएँ त्यहाँ पुगेर तिनले मलाई स्पर्श गर्न सकेका थिएनन् । साधारण स्थितिमा मनुष्यसमाजका लागि व्यवहारोपयोगी शास्त्रोक्तिहरू असाधारण स्थितिमा परेको एकाकी मानवलाई सहायकारी हुँदो रहेनछ, डुब्न लागेको मानिसको थितिमा नीतिवचन अप्रासङ्गिक भएजस्तै ।

मलाई लाग्यो, म डुबिरहेकी छु । सहाराका लागि हात-गोडा उफार्दा गुणलाई पनि समात्न म पुगेकी थिएँ । त्यस समयमा जीवनको एउटा अन्धप्रेरणाले मलाई बाँच्ने बाटो देखायो । सब कुराबाट निराश भएर पनि जीवनको धुकधुकीले परास्त स्वीकार गर्दो रहेनछ । एउटा अन्तिम अन्धो स्फुरण त्यसबाट निर्गत हुँदो रहेछ । आज म यहाँ अन्तिम श्वासका लागि पर्खिरहेकी छु तर त्यस दिन मानौं जीवनले क्षयमा परास्त हुन नजानेर मलाई बाँच्ने बाटो देखायो- केका लागि अब यो यौवनपूर्ण शरीरलाई साँचेर राख्छेस् ? त्यसको प्रयोग गर्ने समय आएको छ ।

के पतिव्रत तथा नारीधर्म दुई पृथक् मार्ग हुन् जसको विभेद साधारण स्थितिमा दृष्टिगोचर हुँदैन ? तर जुन चरमस्थितिमा म पुगेकी थिएँ त्यहाँ भने ती मार्ग स्पष्ट छुट्टिया देखिन्छन् ।

ममा रहेकी पत्नीले भन्छे – तिम्रो त एउटा मात्र पुरुष छ, अरू परपुरुषसँगको सहवास कुनै अवस्थामा पनि स्वीकार गर्नु हुन्न ।

तर नारी भन्छे – के आफ्नो पुरुषका खातिर पनि त्यो वर्जित छ ? पुरुषको हितका लागि नारीले गर्न नहुने कुनै कार्य छैन ।

पत्नीको मर्यादाको सीमा शायद होला, तर के नारीको प्रेमको सीमाङ्कन कसैले गर्न सकेको छ ? आखिर पत्नी भनेको नारीत्वमाथि उभिएको एउटा मूर्ति त हो नि ।

त्यस दिन मैले भनें – अब म केही रहिनँ । माता, पत्नी, भगिनी, कन्या- केही रहिनँ, यी सबै रूप मबाट झरेर गए । म सीमित हुँदैहुँदै मौलिक नारीतत्त्वमा केन्द्रित हुन पुगें ।

मैले भनें – यो शरीर दिएर पनि तिमीलाई बचाउँछु राइटरबाजे !

त्यस राति र त्यसपछि अनेक त्यस्तै रातिमा म वेश्याशय्यामा सुतेर राइटरबाजेले अर्को कोठामा खोकेको सुन्थें । म प्रार्थनाको वाणीमा मनमनै भन्थें- राइटरबाजे ! यो मेरो जाबो शरीरलाई अर्पेर पनि तिमीलाई बचाउँछु । राइटरबाजे उता खोक्थे । म आफ्नो शुल्कको रुपियाँ मुट्ठीमा दृढतापूर्वक अँठ्याउँथें ।

यति दिनपछि आज मेरो यस दुनियाँबाट बिदा हुने दिनमा यी कुराहरूलाई सम्झिँदा ममा कुनै भाव जागृत हुँदैन । मैले जीवनमा गर्ने-नगर्ने यावत् काम सिध्याइसकेकी छु । अब त केवल यो आकाशमा आफ्नो अन्तिम श्वास फ्याँकिदिनु छ । तर तिनताका म यस्तै निर्द्वन्द्व थिइनँ । प्रत्येक सन्ध्यामा बत्ती बालेर म जब वेश्याको शृङ्गार गर्न थाल्यें कर्तव्याकर्तव्य, पाप-पुण्यको कुनै निष्पत्तिमा नपुग्न सक्ने अनिर्णयात्मक विचारहरूबाट आन्दोलित भइरहन्थें । मेरो तिनताकाको जीवनमा दुई पक्ष थियो – क्षय-जर्जर फोक्सोबाट निस्केको खोकी र वेश्याशय्यामा भोगदान, क्षयरोग र गणिकावृत्ति ।

पापको पात्र के हो ? जीवनको कलुषता कुन भाँडोमा आउँछ ? पापको स्थल कहाँ छ, जहाँ त्यो जरो हाल्न सक्छ ? शरीर या मनमा ? मन निस्सङ्ग भएर शरीरले मात्र गरेको कार्य के त्यस्तो आधार हुन सक्छ जसमा पाप अड्न सकोस् ! मनको निर्मलतामा नुहाएर के शरीरका पापको मोचन हुँदैन ? वेश्याशरीरमा पतिव्रता प्राण जीवित रहँदैन र ? मलाई लाग्थ्यो, वेश्यासज्जामा सुतेको शरीर मेरो होइन, म त्यहाँ हुन्नँ । म त हुन्थें अर्को कोठामा जहाँ राइटरबाजे खोकीले विह्वल भएर रुग्णशय्यामा छटपटाइरहेका हुन्थे । उनको करुणार्द्र आँखालाई म देख्थें र रोगले जर्जर भएको उनको अनुहारलाई ।

उनको चिकित्साको पूरा व्यवस्था भयो, मेरो रूपजीविकाले गर्दा; तर रोगले झन्झन् च्याप्दै लग्यो ।

उनको मृत्युमा मलाई सन्तोषको एउटा मात्रै सहारा रह्यो । मेरो भाग्यको कस्तो विडम्बना कि त्यो सहारा त्यही गणिकावृत्ति थियो जसद्वारा मैले यथाशक्य उनको औषधिमूलोको व्यवस्था गर्न सकें । उनलाई बचाउन मैले कुनै कुरा गर्न पनि बाँकी राखिनँ- वेश्यासम्म पनि भएँ, यही मेरो सानो सन्तोषको कारण थियो ।

मैले बचाउन सकिनँ । यो ईश्वरी न्याय उनको मात्र अन्तिम निर्णय हो…। जसमाथि हामी प्राणीको कुनै उजुर चल्दैन । तर हे मेरा राइटरबाजे ! मेरो सामर्थ्यको चरमसीमासम्म पुगेर मैले जति गर्न सक्थें, गरें शरीर दिएर पनि ! सानो सन्तोष यसैमा छ ।

भन्न त मैले भनें मन निस्पृह पारेर शरीरले गरेको कामको भोग लाग्दैन । तर यसलाई पनि त निश्चिन्ततासँग म भन्न सक्तिनँ कि मनलाई चटक्क अलग पारेर पनि मेरो शरीरले आफ्नो भावलाई पूर्णरूपले निर्मूल पार्न सक्यो ? कोढ के एउटा अभिशाप हो, त्यो जीवनको कलुषता हो, जो मनको निर्मल गङ्गामा स्नान गर्दागर्दै पनि कहीं शरीरको कुनाकाप्चामा अडेर रहेको पाप फुट्न गएको हो ? आज मलाई सम्झना हुन्छ त्यो युवकको जो मेरो शुल्क लिएर एक रात मकहाँ आएको थियो ।

निश्चय नै त्यो सम्पन्न थिएन किनभने शुल्कको रुपियाँ उसको धेरै दिनको सञ्चय जस्तो थियो । र ऊसँग एउटा शुल्कमात्र थियो । त्यसका प्रति ममताको उद्रेक हुनु के पाप होइन ? शरीरको र मनको निर्लिप्तता कहाँ गयो

त्यस रात, एउटा विपन्न युवकसँग केही समय वेश्याशय्यामा बिताउँदा ? भोगशय्यामा त्यसको अदक्ष व्यवहारले मलाई स्नेह जागृत भयो र मैले भनें- युवक, तिमी आफ्नो शुल्क लेऊ । मलाई चाहिंदैन ।

उसले बडो निराशाले मलाई हेर्यो । मैले ऊसँग कुनै मूल्य नलिएर रातभरि उसलाई आफूसँग बिताउन दिएँ । निराश नहोऊ, युवक !

आज पनि त्यसलाई सम्झिएर मलाई ममता हुन्छ । पाप र पुण्यको विवेचना गर्दै मैले आफ्नो कर्तव्यको आधार निर्धारित गरेकी थिएँ- निर्लिप्तता त्यसको आधार थियो । तर त्यस राति त्यो युवकले मेरो निर्लिप्तताको आधार नष्ट गरिदियो । म पुनः नाङ्गीजस्ती भएँ, निरावरणा, निस्सहाया । शरीरले आफ्नो.. स्वभाव छाड्न सकेन भने- पछि त्यसले आफ्नो प्राकृतिक नियमअनुसार सुख र क्लेशको शरीर-धर्मलाई निर्मल गर्न सकेन भने- के त्यसले पापको भागी हुनुपर्छ । कुष्ठको छाप त्यसले धारण गर्नुपर्छ ? यो कस्तो न्याय हो, भगवान् ? मानवलाई तिमीले किन त्यस्तो दुर्बल प्राणी बनायौ ?

अभिशापका लागि पनि म नै किन रोजिएँ ? शरीर-धर्मअनुसार त्यसले पाएको भोगसुख नै यो अभिशापको कारण हो भने ममात्र किन यसका लागि रोजिएँ त ? मेरी जेठी दिदी चार पुरुषकी एकैचोटि पत्नी भएर बसिन् । मेरी माहिली दिदीकै वृत्ति पनि त रूपजीवी वृत्ति थियो । मेरी साहिंली दिदी रानी पदमा आसीन हुन आफ्नो रूप र शरीरको ठाउँठाउँमा प्रयोग गर्दै गइन् । किन विधाताले सबभन्दा सानी बैनीलाई मात्र अभिशापको छाप लगाएर मानवसमाजबाट बाहिर निष्कासित गयो ?

जुन दिन राइटरबाजेको मृत्यु भयो, म विधाताको कठोर निर्ममता देखेर स्तब्ध भएँ । मेरो केही चलेन । त्यो शून्य घरमा म संज्ञाहीन जस्ती भएर यताउति हल्लिरहें । रुग्ण कण्ठबाट निस्कने गरेको अशक्त खोकीको आवाज हठात् थामिंदा महान् शून्यता, एउटा ठूलो रिक्तताको त्यो घरमा व्याप्त थियो । मैले देब्रे हातको हत्केलाले निधारको सिन्दूर मेटें- वैधव्यस्थितिमा प्रवेश गर्दा मलाई लाग्यो, एउटा अनन्त शून्यमा म प्रवेश गरिरहेकी छु ।

वेश्यालय बन्द भयो- राइटरबाजे अब रहेनन् । एउटी विधवालाई छाडेर उनी अनन्तको बाटो लागेर गए । त्यही दिन मैले देखें – मेरो नाकको टुप्पोमा एउटा सेतो टाटो, कुष्ठरोगको प्रथम चरण । धेरै बेरसम्म सिन्दूर पुछिएको निधार र कुष्ठरोगको टाटो भएको नाकलाई हेरिरहें ।

मलाई लाग्यो- अब यी दुई वस्तु मात्र मसँग रहे, पछिसम्मका लागि ।

मानिसको दुःखको सीमा पुगेपछि संज्ञाहीनताको करुणामय आशीर्वाद त्यसले पाउँछ भन्छन् । त्यस दिन महान् शून्यताको अनुभव त मलाई भयो, तर पीडाको बोध भएन । संज्ञाहीन भएर हो अथवा यस संसारमा आफ्नो भनेको यावत् वस्तुलाई आर्यघाटमा सेलाएर प्राप्त भएको विकल्पता थियो त्यो मेरो । यसै दिन मैले घर पनि छाडिदिएँ ।

आज यतिका दिनपछि काललाई पर्खिंदापर्खिंदा मेरो अन्तिम क्षण आएको देखिरहेकी छु । धवलागिरिको ओझेल बिस्तार-बिस्तार मतिर बढिरहेको छ । मृत्युको छाया पनि त्यही हो । अब एकछिनमा म यो निर्जन हिमलोकमा, गण्डकीको तीरमा, धवलागिरिको छायामुनि सेलाएर जान्छु । एक्लै आएँ, एक्लै गैरहेकी छु ।

जीवनमा मानिसले एउटै मार्ग मात्र रोज्न पाउँदो रहेछ । एकचोटि रोजेपछि त्यही मार्गबाहेक अरू बाटो त्यसका लागि उपलब्ध हुँदो रहेनछ । मैले रोजेको बाटोमा हिंडेर म आज बाटोको अन्तिम छोरमा पुगेकी छु । मैले दिदीहरूको बाटो रोजेको भए के हुने थियो, थाहा छैन, अहिले यसको विवेचना गर्नु पनि व्यर्थ छ ।

तर मैले रोजेको बाटोमा कसैले पाउन नसकेको वस्तु मैले पाएँ । मेरो मात्र आफ्नो राइटरबाजेको प्रेम । लुली र डुडी भएर पनि त्यो प्रेमको न्यानो अझै मेरो मुटुमा विद्यमान छ ।

यो अन्तिम घडीमा पनि विधाताले पुनः मलाई आफ्नो मार्ग रोज्ने अधिकार दिए भने राइटरबाजेको प्रेमको आशीर्वाद पाउने बाटो, मैले हिंडिसकेको त्यही पुरानो बाटो मात्र छ भने त्यसैलाई रोज्छु र पुनः त्यो मार्गमा हिंड्दा अभिशापको रूपमा मैले भोग्नुपरेको कुष्ठको व्यथालाई दोस्रोचोटि पनि अङ्गीकार गरेर यस हिमलोकमा सेलाउन आउनेछु ।

अब धेरै समय छैन । दृष्टि मलिन हुँदै आयो । गण्डकीको ध्वनि कानमा क्षीणतर हुँदैछ । धवलागिरिको छायाको टुप्पोको स्पर्श मेरो कुष्ठ शरीरले गरिसक्यो ।

हे संसार ! बिदा । राइटरबाजे ! म आएँ ।

(विश्वेश्वरप्रसाद कोइरालाको कथासंग्रह ‘श्वेतभैरवी’बाट)

फिदिम खानेपानी समितिलाई फिदिम नगरपालिकाको १० लाखको पाइप सहयोग

पाँचथर । फिदिम नगरपालिकाले फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई करिब १० लाख रुपैयाँ बराबरको पाइप हस्तान्तरण गरेको छ ।

नगरपालिकाका प्रतिनिधि शान्तिराम तिम्सिनाले समितिका कोषाध्यक्ष दीपक बास्कोटालाई पाइप बुझाएका हुन्।

बास्कोटाका अनुसार २० एमएमको ९ हजार मिटर, ४० एमएमको १ हजार मिटर र २०० एमएमको ११४ मिटर पाइप नगरपालिकाले उपलब्ध गराएको हो ।

पाइप हस्तान्तरण समारोहमा फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष प्रकाश गुरुङको पनि थिए ।

गत वर्षको असोज १८ र १९ गते परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले आप्तावा र तितेवा खोलाबाट आउने मुख्य खोला क्षेत्रमा क्षति पुर्‍याएको थियो।

१३ स्थानमा पाइपलाइन बगाएको थियो, जसकारण खानेपानी सेवा अवरुद्ध बनेको थियो। अहिले तितेवा र नाम्दु खोलाबाट बैकल्पिक रूपमा पानी ल्याएर उपभोक्ता समितिले पानी बितरण गर्दै आएको छ । नगरपालिकाको सहयोगसँगै अब भने पुनःनिर्माण कार्य सुरु हुने भएको छ ।

फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, उपभोक्ता समितिका अध्यक्ष गुरुङ, सचिव कमल बास्कोटा, सहसचिव डने शेर्पाको सक्रियतामा पुनःनिर्माणको काम अघि बढ्ने भएको हो ।

हाल नगरपालिका वडा नम्बर १, २ र ४ का २ हजार ९ सय ६४ घरधुरीमध्ये २ हजार ३ सय ३४ घरधुरीमा उपभोक्ता समितिले खानेपानी उपलब्ध गराउँदै आएको छ ।

यसैबीच, अध्यक्ष गुरुङको नेतृत्वको समितिले उपभोक्तालाई राहत दिने उद्देश्यले खानेपानीको महशुल घटाएको छ ।

बजार क्षेत्रमा प्रति महिना २८५ रुपैयाँ लिइँदै आएको महशुल घटाएर २४६ रुपैयाँ कायम गरिएको छ । ग्रामीण क्षेत्रमा २२१ रुपैयाँ निर्धारण गरिएको छ।

ग्राउण्ड जीरो : एकैछिनमा भत्किएको थापाथली सुकुम्बासी बस्ती

काठमाडौं । थापाथलीको सुकुम्बासी बस्ती आज बिहानदेखि सरकारी सुरक्षा घेराबीच खाली गरिएको छ। सरकारको निर्देशनपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गर्दै बस्ती हटाउने कार्य सुरु गरिएको हो। बिहानैदेखि ठुलो संख्यामा सुरक्षा दस्ताले बस्ती क्षेत्र घेराबन्दी गरेपछि थापाथली क्षेत्र तनावग्रस्त बनेको थियो।

हिजोदेखि नै सुरक्षा निगरानीमा राखिएको उक्त बस्तीमा बिहान ६ बजेदेखि नै प्रहरी परिचालन बढाइएको थियो। करिब ८ बजेर ३० मिनेटमा शंखमूलतर्फबाट स्काभेटर प्रवेश गरेपछि बस्ती भत्काउने कार्य औपचारिक रूपमा सुरु भयो। 

त्यसपछि क्रमशः टहराहरू भत्किन थाले र केही मिनेटमै सुकुम्बासी बस्तीका घरहरू ढल्न थाले। डोजरको आवाजसँगै घरहरू ढल्दा त्यहाँको वातावरण अत्यन्तै भावुक र तनावपूर्ण बनेको थियो।

प्रहरीले बस्ती क्षेत्रलाई पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो। बस्तीभित्र सर्वसाधारण, पत्रकार र अन्य व्यक्तिहरूलाई प्रवेश गर्न दिइएको थिएन। त्रिपुरेश्वर र शंखमूलतर्फबाट ठूलो संख्यामा संचारकर्मीहरू घटनास्थलमा पुगे पनि उनीहरूलाई करिब १५ मिटर टाढाबाट मात्रै भिडियो खिच्न अनुमति दिइएको थियो। सुरक्षाका नाममा कडा प्रतिबन्ध लगाइएपछि सञ्चारकर्मीहरू बाहिरैबाट घटनाको दृश्य कैद गर्न बाध्य भए।

बस्ती भत्काइरहँदा सुकुम्बासी परिवारहरू भने आफ्ना घरभित्रका सामान बचाउने प्रयासमा व्यस्त देखिन्थे। कतिपय रुँदै सामान ओसारिरहेका थिए भने कतिपय सन्नाटामा टाउको समाएर बसिरहेका थिए। केही परिवारले खुला स्थानमै खाना पकाएर खाइरहेको दृश्य पनि देखिएको थियो। 

५५ वर्षीया सानु उप्रेती २० वर्षदेखि थापाथलीमा बस्दै आएकी थिइन्। पाँच सदस्यीय परिवारसहित बस्दै आएकी उनले अहिले आफ्नो भविष्य अनिश्चित भएको बताइन्। ‘अब कसरी भाडा तिर्ने, परिवार कसरी धान्ने थाहा छैन,’ भन्दै उनी भावुक बनिन्। ज्यालादारी काम गरेर जीविका चलाउँदै आएकी उनले अब थप संघर्ष गर्नुपर्ने अवस्था आएको बताइन्।

त्यस्तै, सर्लाही घर भएका २७ वर्षीय सलिन परियार शारीरिक रूपमा अपाङ्ग छन्। ह्विलचेयरमा बस्दै आएका उनी केही सामान बोकेर गन्तव्यविहीन अवस्थामा देखिन्थे। उनले बस्ती भत्किएपछि सर्लाही फर्किने योजना रहेको बताए। ‘२० वर्षदेखि यहाँ बस्दै आएको हो, अब सर्लाही जान्छु,’ उनले भने। तर सर्लाहीमा पनि आफूलाई स्थायी बसोबास नभएको उनको गुनासो थियो।

चित्रलेखा नामकी एक महिला भने घर भत्किँदा रुँदै देखिइन्। उनले आफ्नो खुट्टाले काम नगर्ने भएकाले अब जाने ठाउँ नै नभएको बताइन्। ‘सरकारले व्यवस्थापन गरिदिएको भए राम्रो हुन्थ्यो,’ भन्दै उनी निराश बनेकी थिइन्। उनको परिवार पनि लामो समयदेखि सोही बस्तीमा बस्दै आएको थियो।

त्यसैगरी रोशन मगरले सरकारले आफूहरूलाई कहाँ लैजाने हो भन्ने स्पष्ट जानकारी नदिएको भन्दै चिन्ता व्यक्त गरे। ‘भत्काउन त भत्कायो, तर अब कहाँ जाने थाहा छैन,’ उनले भने।

६३ वर्षीया सलाम अन्सारीले सरकारको कदमप्रति आक्रोश व्यक्त गरे। उनले गत निर्वाचनमा रास्वपालाई मतदान गरेको स्मरण गर्दै अहिले आफूहरू नै पीडित बन्नु परेको गुनासो गरे। ‘८ हजार भाडा तिरेर धनुषा गए, रास्वपालाई मत हाले, तर हाम्रो टाउकोमाथि डोजर चलाइयो,’ उनले भने।

थापाथली सुकुम्बासी बस्तीमा करिब करिब २०० घरको आँकडा रहेको काठमाडौँ महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिए। ‘ठ्याक्कै त हामीलाई पनि थाहा छैन, तर हाम्रो आँकडा २०० छ भन्ने हो,’ उनले भनेका थिए।  अहिले ती २०० वटै घरहरु भत्काइएको छ। विगत लामो समयदेखि अतिक्रमित भनिएको बस्तीमा डोजर चलेसँगै आजबाट बस्ती खाली भएको हो।

यसअघि काठमाडौँ महानगरको मेयर हुँदा पनि प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले बस्तीमा डोजर चलाउने सुर कसेका थिए। बस्तीमा डोजर पनि पुगेको थियो।  तर राजनीतिक विरोध, सुकुमवासी नागरिकहरुको प्रतिरोध र अदालतको आदेशले त्यतिबेला उनी सफल भएनन्।  तर, यसपल्ट भने उनको निर्देशनमा कुनै छेकावट र रोकावट देखिएन।  शुक्रबार बिहान बस्ती छेउमा सामाजिक अभियन्ता, जेनजी अगुवाहरु लगायतका केहीले प्रदर्शन गरेपनि आज बस्ती भत्काउने दिन भने कुनै पनि किसिमको अड्चन थिएन।  बस्तीका नागरिकहरु त्रासित नै भएपनि उनीहरुले भत्काउने काममा कुनै अवरोध गरेनन्। शान्त रुपमा एकोहोरो थापाथली बस्ती खाली भइरह्यो र भत्किरह्यो। 

शुक्रबार बिहान पनि हामी थापाथली सुकुमवासी बस्ती पुगेका थियौं। हामीले त्यहाँ स्थानिय अगुवाहरुसँग कुरा गर्ने क्रममा १५८ परिवारको घर रहेको जानकारी पाएका थियौँ। तर, आज बस्ती खाली भइसकेपछि भने जम्माजम्मी २२ वटा परिवार सम्पर्कमा आएको काठमाडौँ महानगरको सचिवालयले जनाएको छ। बाँकी १२८ वटा परिवार ? नक्कली सुकुमवासी ? की त्यहाँ कै नागरिकबाटै भाडा असुल्ने हुकुमवासी ?

घटनास्थल वरपर ठूलो भीड जम्मा भएको थियो। सर्वसाधारणले टाढाबाटै भत्काइएका संरचना हेरिरहेका थिए। यसअघि सडकबाटै हटाइँदै आएको संरचना अब बस्तीभित्रै प्रवेश गरेर खाली गरिँदै गरिएको प्रशासनको भनाइ छ। बस्ती भत्किएसँगै सयौं परिवारको जीवन अनिश्चित बनेको छ भने उनीहरूको पुनर्स्थापना र व्यवस्थापनबारे अझै देखिएको छ ।

कांग्रेस सांसद भीष्मराज आङ्देम्बेको आग्रह– मलाई यो या त्यो समूहको भन्ने लेबल नलगाउनुहोला

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेताका दाबेदार प्रतिनिधिसभा सदस्य भीष्मराज आङ्देम्बेले आफू कुनै पनि गुट वा पक्षसँग नजोडिएको स्पष्ट पारेका छन्।

पार्टीभित्र संसदीय दलको नेतृत्व चयनको सरगर्मी बढिरहेका बेला आङ्देम्बेले आफ्नो दाबी कुनै समूहगत समर्थन वा भागबन्डाको आधारमा नभएको भन्दै स्वतन्त्र र संस्थागत दृष्टिकोणसहित अघि बढिरहेको बताएका छन्।

उनले पार्टीभित्र देखिने “यो वा त्यो पक्ष” भन्ने लेबलिङप्रति असहमति जनाउँदै अहिलेको आवश्यकता व्यक्तिगत गुटगत राजनीतिभन्दा माथि उठेर संगठनलाई बलियो बनाउने रहेको धारणा राखेका छन्।

आङ्देम्बेले संसदीय दलको नेतृत्व चयनलाई प्रतिस्पर्धाभन्दा पनि पार्टीलाई एकताबद्ध र प्रभावकारी बनाउने प्रक्रियाका रूपमा लिनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार संसदीय दलले सरकारसँग सहकार्य गर्दै जनताका मुद्दामा सशक्त भूमिका खेल्नुपर्नेछ।

उनले आफू कुनै पनि खेमाको प्रतिनिधि नभई पार्टीको साझा हित र संसदीय प्रभावकारितालाई केन्द्रमा राखेर अघि बढिरहेको बताएका छन्।

संसदीय दलको नेताको चयन प्रक्रिया अघि बढिरहँदा आङ्देम्बेको यो भनाइलाई पार्टीभित्रको गुटगत राजनीति कमजोर पार्ने संकेतका रूपमा पनि हेरिएको छ।

ट्रम्पले भने भारतलाई ‘नरक’, मोदी किन चुपचाप ?

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत भारतलाई ‘नरक जस्तो ठाउँ’ भनेर उल्लेख गरेपछि कूटनीतिक विवाद उत्पन्न भएको छ।

उक्त टिप्पणी अमेरिकी रेडियो होस्ट माइकल स्याभेजको एक कार्यक्रमसँग सम्बन्धित हो। जसमा उनले अवैध आप्रवासनबारे टिप्पणी गर्दै भारत र चीनलाई ‘नरक’सँग तुलना गरेका थिए। ट्रम्पले कुनै प्रत्यक्ष टिप्पणी नगरी उक्त पोस्ट साझा गरेका थिए।

स्याभेजको भनाइमा अमेरिकामा जन्मिएका बच्चाले स्वतः नागरिकता पाउने व्यवस्था र त्यसपछि सम्पूर्ण परिवार आप्रवासनका रूपमा आउने विषय उठाइएको थियो। ट्रम्प भने अमेरिकी जन्मसिद्ध नागरिकता नीतिमा कडाइ गर्न चाहन्छन्, जसलाई सर्वोच्च अदालतमा चुनौती दिइएको छ।

ट्रम्पको पोस्टपछि भारतमा राजनीतिक बहस चर्किएको छ। विपक्षी दलहरूले सरकारको विदेश नीतिमाथि प्रश्न उठाएका छन्।

भारतको विदेश मन्त्रालयले प्रारम्भमा संयमित प्रतिक्रिया दिँदै विषय अध्ययन भइरहेको जनाएको थियो। पछि प्रवक्ता रणधीर जैसवालले ती टिप्पणीलाई ‘अज्ञानतापूर्ण, अनुचित र निम्नस्तरका’ भन्दै भारत-अमेरिका सम्बन्धको वास्तविक चित्र नदेखाउने स्पष्ट पारे।

उनले दुई देशबीचको सम्बन्ध आपसी सम्मान र साझा हितमा आधारित रहेको पनि दोहोर्‍याए।

यसैबीच, अमेरिकी दूतावासले ट्रम्पको नाम उद्धृत गर्दै भारतलाई ‘महान देश’ भनेको र त्यहाँ नेतृत्वसँग राम्रो सम्बन्ध रहेको उल्लेख गरेको छ।

विश्लेषकहरूका अनुसार भारतले यस विषयमा आक्रामक प्रतिक्रिया नदिई कूटनीतिक सन्तुलन कायम राखेको छ। उनीहरूले यसलाई अमेरिका–भारतबीच चलिरहेको व्यापार सम्झौता वार्तासँग पनि जोडेर हेरेका छन्।

‘हामी’

हामी जतिसुकै माथि उठौं,
जतिसुकै यताउति दगुरौं,

जतिसुकै ठूलो स्वरमा गर्जौं
तर, हामी फगत् पानीको थोपा हौं
पानीका निर्बलिया थोपा

जो सूर्यद्वारा माथि उचालिन्छौं
र बादल बन्छौं ,
हावाको इशारामा यताउति दगुर्छौं
र आफूलाई गतिशील भन्ठान्छौं ,
अनि एक चोटी माथि पुगेपछि
हामी आफ्नो धरतीलाई बिर्सन्छौं
र आफ्नो धरतीलाई
खोलालाई
बगरलाई उपेक्षापूर्वक
पालिएका कुकुर
झ्यालबाट गल्लीका कुकुरहरुलाई हेरेर भुकेझैं
हामी भुक्तछौं
र आफ्नो कुकुरभुकाइलाई गर्जन भन्ठान्छौं
अनि अन्त्यमा एक दिन बर्सेर चकनाचूर हुन्छौं
र फेरि परिणत हुन्छौं पानीका थोपाहरुमा
निर्बलिया थोपाहरुमा
र कुनै इनार, खाडल वा पोखरीमा
कुहेर विताउँछौं बाँकी जीवन
टर्र… टर्र टर्टराउने घिनलाग्दा भ्यागुताहरु पालेर,
विष नभएका साँपहरु अँगालेर
हामी जतिसुकै माथि उठौं
जतिसुकै यताउति दगुरौं
जतिसुकै ठूलो स्वरमा गर्जौं
तर, हामी भित्र–भित्रै खोक्रा छौं
हाम्रो उठाइको कुनै महत्व छैन,
हाम्रो दगुराइको कुनै लक्ष्य छैन,
हाम्रो गर्जनको
पानीमा फालिएको अगुल्टाको ‘छवाइयँ’ भन्दा बढी वजन छैन।

~~~

हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि
भित्र–भित्र निरन्तर खिइंदै र घिस्सिदै गइरहेका छौं
हाम्रो बाहिरको उँचाइ झूटो हो,
भ्रम हो
अग्लो टाकुरामा उम्रेका च्याउका उँचाइभन्दा
यसको बर्ता महत्व छैन
वा दुइटा अग्ला बाँस खुट्टामा बाँधेर हिंड्ने
भारतीय चटकेको उँचाइभन्दा यसको बढी विशेषता छैन
अग्लो चुच्चे टोपी लगाई नाच्ने
सर्कसको जोकरको उँचाइभन्दा यसको बढी विशेषता छैन
हामी बाहिरको उँचाइमा रमेका छौं, लट्ठिएका छौं, फुलेका छौं
तर, हामीले आफ्नो आस्थाको द्वीपमा
निरन्तर खिइंदै र घिस्सिंदै गइरहेको कुरालाई भुलेका छौं
हीनताको सानो द्वीपमा पछारिएर
हामीले आफ्नो पूर्वस्मृति गुमाइसक्यौं
हामीले आफ्नो विगत उँचाइलाई बिर्सिसक्यौं
हामीले मानिसको सामान्य उँचाइलाई बिर्सिसक्यौं
हामीले सामान्य मानिसको उँचाइलाई बिर्सिसक्यौं
त्यसैले जब कुनै सामान्य मानिस
कथामा वर्णित ‘गुलिभर’ झैं
आई पल्टन्छ हाम्रो आस्थाको द्वीपमा
हामी छक्क परेर उसलाई हेर्छौ
हामी उसलाई हेरेर छक्क पर्छौ
हामीलाई उसको उँचाइ देखेर आश्चर्य लाग्छ
हामीलाई आफ्नो पुड्काई देखेर डर लाग्छ
र त हामी आफ्नो हीन भावनाका
सियो जत्रा स–साना हतियारहरुको उसमाथि
प्रहार गर्छौ
उसको अङ्ग-प्रत्यङ्गमा चढ्छौं
उफ्रन्छौं
टोक्छौं
चिमोट्छौं
र अन्त्यमा थकित भएर तल ओर्लन्छौं
शान्त हुन्छौं
समर्पित हुन्छौं
र कुनै ठूलो चट्टानमाथि उर्लेर समुद्रको छालले
तल ओर्लेर त्यसको पाउ पखालेझैं
हामी पुज्न थाल्दछौं  त्यो साधारण मानवलाई
महान् भनेर
हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि
भित्र-भित्रै निरन्लर खिईदै गइरहेका छौं
हामी ‘लिलिपुट’ का मानव हौं।
हामी लघुमानव हौं।

~~~

हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने,
हामी आफूखुशी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्टयाइदिनुपर्ने,
हामी आफूखुशी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने
हामी रङ्ग-रोगन छुटेका,
टुटेका, फुटेका
पुरानो क्यारमबोर्डका गोटी हौं
एउटा मनोरन्जक खेलका सामग्री,
एउटा खेलाडीमाथि आश्रित,
आफ्नो गति हराएका
एउटा ‘स्ट्राइकर’ द्वारा संचालित
हो, हामी मानिस कम र बर्ता गोटी हौं।

~~~

हामी वीर छौं
तर बुद्धू छौं
हामी बुद्धू छौं
र त हामी वीर छौं
हामी बुद्धू नभईकन वीर कहिल्यै हुन सकेनौं
हामी महाभारतको कथामा वर्णित एकलव्य हौं
प्रत्येक पिंढीको द्रोणाचार्यले हामीलाई उपेक्षा गर्छ
हामीलाई ज्ञान दान गर्नबाट इन्कार गर्छ
इन्कार गर्छ मान्न हाम्रो योग्यतालाई,
शक्तिलाई,
र अस्तित्वलाई
तर, हामी तिनै द्रोणाचार्यको मूर्ति बनाउँछौं
आफ्नो झुप्रो अगाडि,
त्यसलाई पुज्छौं
ढोग्छौं
निरन्तर धनुर्विद्याको अभ्यास गर्छौं
र द्रोणाचार्यका अन्य कुलीन
चेलाहरुभन्दा बढी कुशलता प्राप्त गर्छौं
तर, हाम्रो कुशलतादेखि आश्चर्यचकित
र भयभीत भई
प्रत्येक पिंढीमा द्रोणाचार्य हामीकहाँ आउँछ
र गुरु-दक्षिणा माग्छ
र हामी सहर्ष उसको इशारामा
आफ्नो बूढी औंला काटेर उसलाई भेटी दिन्छौं ,
आफ्नो अस्तित्व मेटेर उसलाई समर्पित गर्छौं
र मक्ख पर्छाै आफ्नो गुरुभक्ति माथि
आफ्नो आत्मशक्तिमाथि
त्यसैले त हामी वीर त छौं
तर, बुद्धू छौं
हामी बुद्धू छौं
र त हामी वीर छौं
हामी बुद्धू नभईकन वीर कहिल्यै हुन सकेनौं
हामी कसैको मूर्ति स्थापना नगरीकन
वीर कहिल्यै हुन सकेनौं

~~~

हामी पाइतला हौं
केवल पाइतला
र फगत पाइतला
पाइतला : जसको भरमा शरीर उभिन्छ
पाइतला : जसको आधारमा शरीर हिँड्छ
पाइतला : जसको भरोसामा शरीर दगुर्छ
पाइतला : तर जो भन्ठान्छ कि
शरीरले कृपा गरेर उसलाई पालिरहेछ
दया गरेर उसलाई सँग -सँगै हिँडाइरहेछ
मक्ख पर्छ शरीरको महानतामाथि
र सधैं सम्पूर्ण शरीरको भार सहन्छ
सधैं शरीरको सबभन्दा तल रहन्छ
कहिल्यै शिर उचालेर माथि हेर्दैन
सधैं –सधैं नतमस्तक रहन्छ
हामी पाइतला हौँ
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो निधारले टीका थाप्छ,
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो घाँटीले माला लाउँछ
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो छातीले तक्मा टाँस्छ
हाम्रो टीका थाप्ने निधार अर्कै छ
हाम्रो माला लाउने घाँटी अर्कै छ
हाम्रो तक्मा टाँस्ने छाती अर्कै छ,
हामी त फगत कसैको इशारामा
टेक्ने, हिंड्ने र दगुर्ने पाइतलाहौं
केवल पाइतला
र फगत पाइतला।

~~~

हामी केही पनि ह्वैनौं
र शायद त्यसैले केही ह्वौँ कि !
हामी कतै पनि, केही पनि छैनौं
र शायद त्यसैले कतै, केही छौं कि !
हामी बाँचिरहेका छैनौं
तर शायद त्यसैले पो बाँचेका छौं कि !
त्यसैले आओ ए शून्य पूजकहरु !
हामी सब मिलेर पुजौं यो शून्यतालाई
हामी सब मिलेर ढोगौं यो रिक्ततालाई
हाम्रो अस्तित्वको यो देवतालाई।

गैरीगाउँ क्षेत्रको सुकुम्बासी बस्तीमा पनि डोजर (तस्वीरहरू)

काठमाडौं।  काठमाडौं तीनकुने गैरीगाउँ क्षेत्रको सुकुम्बासी बस्तीमा पनि डोजर चलेको छ।

शनिबार बिहान थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाइसकेपछि  गैरीगाउँमा पनि डोजर चलाइएको हो।

 

अन्तर्राष्ट्रिय मञ्चमा सवनम लामाले दर्ज गरिन्– बोझेनीका आदिवासी तामाङले झेलेको राज्य आतंक

काठमाडौँ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ट्रान्समिसन लाइन र सब–स्टेशन विस्तारका क्रममा राज्यपक्षबाट काठमाडौँको शंखरापुर-७ बोझेनीका आदिवासी तामाङ समुदायमाथि गम्भीर मानवअधिकार उल्लङ्‍घन भइरहेको आवाज अन्तर्राष्ट्रिय मञ्‍चमा उठेको छ।

संयुक्त राष्ट्रसंघको मुख्यालय, न्यूयोर्कमा आयोजित आदिवासी जनजाति फोरममा नेपालका तर्फबाट सहभागी भएकी युवा आदिवासी प्रतिनिधि सवनम लामाले  बोझेनीकाे तामाङ भूमि, अस्तित्त्व र अधिकारका सवालमा राज्य पक्षमाथि कडा प्रश्‍न उठाएकी हुन्।

उनले आफूले संरक्षण गर्दै आएको भूमिमा बोझेनीका आदिवासी तामाङ महिला र बालिकाहरूले भोगिरहेको शारीरिक तथा मानसिक असरबारे जानकारी दिँदै भनिन्, ‘बोझेनीस्थित आदिवासी तामाङ समुदायहरूमा जलविद्युत् सब-स्टेशन नाम गरेको विकास आयोजनाले जीवन र भू-दृश्य दुवैलाई गहिरो रूपमा बिथोलिदिएको छ ।’

लामाका अनुसार आयोजनापछि पुर्खादेखि आध्यात्मिक तथा धामी-झाँक्री उपचार पद्धतिका लागि प्रयोग हुँदै आएको पवित्र पानीको मुहान नष्ट गरिएको छ। साथै, सब-स्टेशन सञ्‍चालनपछि कृषि भूमि क्षतिग्रस्त भएको र उचित क्षतिपूर्ति बिना स्थानीय तामाङ समुदायलाई आफ्नो जमिन गुमाउन बाध्य पारिएको उनको आरोप छ।

उनले तामाङ महिलाहरूको भूमि अधिकारलाई सम्मानयोग्य अधिकार भन्दै आफ्नो पुर्खाको भूमिमा जिउने र मर्ने अधिकार उनीहरूको अविभाज्य अधिकार भएको उल्लेख गरिन्। ‘राज्यले जब जमिन खोस्छ, त्यतिबेला केवल जीविकोपार्जन मात्र होइन, स्वास्थ्य, आध्यात्मिकता र समग्र जीवनशैली पनि खोसिन्छ,’ उनले भनिन्।

उनका अनुसार पूर्वाधार विकासलाई लैङ्गिक संवेदनशीलता, वातावरणीय प्रभाव, शारीरिक तथा मानसिक स्वास्थ्यमा पर्ने असरको मूल्याङ्‍कनसहित अघि बढाइनु अनिवार्य छ।

लामाले आदिवासी तामाङ महिला र बालिकाहरू आफ्नो भूमि र अधिकारको रक्षा गर्न अघि सर्दा राज्य पक्षबाट हिंसा भएको पनि गम्भीर आरोप लगाइन्।

उनकाे शब्दमा, ‘आदिवासी महिला र बालिकाहरूले राज्यका हतियारधारी शक्तिबाट शारीरिक हिंसा मात्र होइन, निरन्तर धम्की र त्रासका कारण गहिरो मानसिक आघात भोगिरहेका छन्। उनीहरू भय, चिन्ता र सामाजिक विस्थापनको पीडामा छन्। वयोवृद्ध महिला र बालिकाका लागि समेत कुनै सुरक्षा सुनिश्चित गरिएको छैन। आफ्नो भूमि र अधिकारको रक्षा गर्न अघि सर्दा ज्येष्ठ महिला र नाबालिगहरूलाई घिसार्ने, कुट्ने र धम्की दिने काम भएको छ। यो लैङ्गिक हिंसाको गहिरो स्वरूप हो र यस्ता चोटहरू अदृश्य रूपमा दीर्घकालसम्म रहन्छन् ।’

उनले एक आदिवासी तामाङ महिलाले आयोजनाका अधिकारीलाई सोधेको प्रश्न पनि मञ्‍चमा प्रस्तुत गरिन्- ‘के हामी चराचुरुङ्‍गी र जनावरभन्दा पनि तुच्छ हौं ?’

उक्त प्रश्‍नले आदिवासी समुदायमाथि हुने व्यवहार र विकासका नाममा उनीहरूको अस्तित्वलाई बेवास्ता गरिएको पीडादायी यथार्थ उजागर गरेको उनको भनाइ थियो।

लामाले पूर्वसहमति बिना अघि बढाइने पूर्वाधार विकासले द्वन्द्व झन् बढाउने भन्दै समाधानका लागि तीन प्रमुख सिफारिससमेत प्रस्तुत गरिन्।

उनका अनुसार पहिलो, राज्य र वित्तीय लगानीकर्ता निकायहरूले लैङ्गिक, वातावरणीय तथा स्वास्थ्यसम्बन्धी प्रभाव मूल्याङ्‍कन अनिवार्य गर्नुपर्छ।

दोस्रो, शान्तिपूर्ण आन्दोलन र भूमि रक्षाका क्रममा हुने हिंसामा राज्यलाई जवाफदेही बनाइनुपर्छ र तेस्रो, स्वतन्त्र, पूर्व र सूचित सहमति (एफपिक)को पूर्ण र प्रभावकारी कार्यान्वयन सुनिश्‍चित गरिनुपर्छ।

सलमानसँग फिल्म खेल्दै अनुपविक्रम

काठमाडौं। नेपाली अभिनेता अनुपविक्रम शाहीले बलिउड फिल्म ‘मातृभूमि’को डबिङ पूरा गरेका छन्। सलमान खान फिल्म्सको ब्यानरमा निर्माण भएको उक्त फिल्ममा सलमान खान र अनुपविक्रम शाही मुख्य भूमिकामा देखिनेछन्।

अनुपले डबिङ मुम्बईको अँधेरीस्थित अम्पायर अडियो स्टुडियोमा सम्पन्न गरेका हुन्। फिल्मको प्रदर्शन मिति भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। तर भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म भारतको स्वतन्त्रता दिवसको आसपास रिलिज हुन सक्ने अनुमान गरिएको छ।

नेपाली कलाकार शाहीको बलिउड प्रवेशलाई लिएर दर्शकमाझ उत्सुकता बढेको छ। यसलाई अन्तर्राष्ट्रिय बजारमा नेपाली कलाकारको उपस्थिति विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा पनि हेरिएको छ।

यसैबीच, अनुपविक्रम शाहीले अर्को एक ठूलो बजेटको बलिउड फिल्ममा पनि अभिनय गर्ने पक्का भएको बताएका छन्। सो फिल्मको औपचारिक घोषणा आगामी अगस्ट वा सेप्टेम्बरमा हुने जनाइएको छ।

फिल्मी कामसँगै उनले ‘१२ गाउँ २’ को छायांकन २० वैशाखदेखि सुरु गर्ने तयारी गरेका छन्। हालै उनी यामाहाको ब्रान्ड एम्बेसडर समेत बनेका छन्।

मंगल ग्रहमा ‘निर्माण ब्लक’ फेला

एजेन्सी । नासाको क्युरियोसिटी रोभरले मंगल ग्रहमा गरेको पछिल्लो अध्ययनले रातो ग्रहमा जैविक अणुहरूको अहिलेसम्मकै सबैभन्दा विविध समूह फेला पारेको छ।

सन् २०२० मा ‘मेरी एन्निङ-३’ नाम दिइएको स्थानबाट ड्रिल गरेर सङ्कलन गरिएको चट्टान नमूनाको वर्षौँसम्म गरिएको विश्लेषणपछि २१ वटा कार्बनयुक्त अणु पहिचान गरिएको नासाले जनाएको छ। तीमध्ये ७ वटा अणु मंगल ग्रहमा पहिलो पटक फेला परेका हुन्।

वैज्ञानिकहरूका अनुसार यी जैविक अणुहरू जीवित वा भूगर्भीय प्रक्रियाबाट बनेका हुन सक्ने सम्भावना दुवै खुला छ, तर यसको खोजले प्राचीन मंगल ग्रहमा जीवनका लागि आवश्यक रसायन उपलब्ध रहेको संकेत बलियो बनाएको छ।

‘नेचर कम्युनिकेसन्स’ जर्नलमा प्रकाशित अध्ययनमा अनुसन्धानकर्ताहरूले अणुहरू लाखौँ वर्षको विकिरणका बाबजुद चट्टानमा सुरक्षित रहन सकेको उल्लेख गरेका छन्।

फेला परेका अणुहरूमा नाइट्रोजन युक्त हेटेरोसाइकल संरचना पनि समावेश छ।  जसलाई आरएनए र डीएनए जस्ता आनुवंशिक संरचनाका प्रारम्भिक पूर्वरूप मानिन्छ। यसलाई निकै महत्वपूर्ण खोज मानिएको छ। यस्तो संरचना मंगल ग्रहको सतहमा वा उल्कापिण्डहरूमा यसअघि कहिल्यै भेटिएको थिएन।

त्यस्तै, बेन्जोथायोफिन नामक अर्को कार्बन र सल्फरयुक्त अणु पनि पत्ता लागेको छ। जुन पृथ्वीमा पाइने केही उल्कापिण्डहरूमा समेत भेटिन्छ। वैज्ञानिकहरूले यस्ता पदार्थहरूले प्रारम्भिक सौर्यमण्डलमा जीवनको आधार बन्न सक्ने रासायनिक प्रक्रिया फैलाउन भूमिका खेलेको हुन सक्ने अनुमान गरेका छन्।

नासाका अनुसार यो खोजले मंगल ग्रहको प्राचीन भू-परिवेश पानीले भरिएको र जीवनका लागि उपयुक्त अवस्थाहरू रहेको धारणा थप मजबुत बनाएको छ।

क्युरियोसिटी रोभरमा रहेको ‘साम’ नामक मिनी ल्याब प्रयोग गरेर चट्टानको रासायनिक संरचना विश्लेषण गरिएको हो। वैज्ञानिकहरूले यसलाई भविष्यका मंगल तथा अन्य ग्रह अन्वेषणका लागि महत्वपूर्ण कदमका रूपमा लिएका छन्।