`

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विपक्षीको विरोध जारी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को विवादास्पद अभिव्यक्तिलाई लिएर उत्पन्न राजनीतिक विवाद साम्य हुन नसक्दा विपक्षी दलहरूले प्रतिनिधिसभाको बुधबारको बैठकमा पनि विरोध जारी राखेका छन् ।

सभामुख डीपी अर्यालले बैठकको कारबाही सुरु गर्नेबित्तिकै विपक्षी दलका सांसदहरू आ-आफ्नो आसनबाट उठेर विरोधमा उत्रिएका हुन् ।

उनीहरूले प्रधानमन्त्रीले संसद्मा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त भनाइ फिर्ता लिन, संसद्को अभिलेखबाट हटाउन तथा प्रधानमन्त्रीबाट औपचारिक स्पष्टीकरण र माफीको माग दोहोर्‍याएका छन् ।

परराष्ट्र एकातिर, सरकारका प्रवक्ता अर्कोतिर

‘नेपालले पनि भारतको जग्गा मिचेको छ’

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संसदमा दिएको उक्त सीमा सम्बन्धी अभिव्यक्तिपछि नेपाल-भारत सम्बन्ध र सीमा विवादबारे पुनः बहस चुलिएको छ। सो अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया देखिएका छन् भने प्रधानमन्त्री शाहको चौतर्फी आलोचना भइरहेको छ। तर आज सरकारका प्रवक्ताले भने प्रधानमन्त्रीले बोलेको कुरा सही हो भने।

आजको मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता पोखरेलले भने, ‘प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुहुन्छ । उहाँले अस्ति पनि सदनमा उपस्थित भएर उत्तर दिनुभएको हो । आवश्यकता पर्दा उहाँ फेरि सदनमा आएर उत्तर दिनुहुन्छ ।’

सरकारका प्रवक्ताको प्रष्टाेक्ति: हेर्नुहाेस् भिडियाे

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि लगत्तै परराष्ट्र मन्त्रालयका प्रवक्ताले संसदमा उठेको विषय क्रस–होल्डिङ अकुपेसन हो भन्दै स्पष्टिकरण दियो। अर्थात् भोगचलनको विषयलाई प्रधानमन्त्रीले उठाउन खोजेको परराष्ट्रको भनाइ थियो। तर भोगचलन भने नेपाल-भारतबीच निकै लामो समयदेखि स्थापित सम्बन्ध हो। यही आधारमा नेपाल-भारतबीच रोजीरोटीको सम्बन्ध स्थापित भएको विश्लेषकहरू बताउँछन्।

परराष्ट्रले जारी गरेको विज्ञप्ति

तर परराष्ट्रले जारी गरेको विज्ञप्ति र सरकारका प्रवक्ताले भनेको कुराको तालमेल कतै देखिदैन। यसले प्रधानमन्त्रीको अभिव्यक्तिमा सरकार आफै दुईतिर भएको पुष्टि हुन्छ।

यो बारेमा रास्वपा वृत्तमा पनि अनौपचारिक कुराकानी भएको बताइन्छ। ती अपुष्ट कुराकानीका अनुसार रास्वपाका अधिकांश सांसदहरू पनि प्रधानमन्त्री बालेनको उक्त अभिव्यक्तिमा बेखुश छन्।

नेपालले यसअघि नै लिपुलेक हुँदै भारतले मानसरोवर यात्रा मार्ग सञ्चालन गरेको विषयमा कूटनीतिक नोटमार्फत आफ्नो आधिकारिक धारणा प्रष्ट गरिसकेको छ।

नेपाल-भारतबीचको सीमा ऐतिहासिक रूपमा सन् १८१६ को सुगौली सन्धिद्वारा निर्धारण गरिएको हो। व्यवहारमा भने सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका केही क्षेत्रहरूमा नक्साङ्कन र स्पष्ट सीमांकन अझै पूर्ण रूपमा सम्पन्न भएको छैन। ती क्षेत्रहरू बाहेक अन्य स्थानहरूमा दशगजा अतिक्रमण तथा ‘क्रस-बोर्डर अकुपेसन’ जस्ता प्राविधिक समस्याहरू छन्। तर हाम्रा प्रधानमन्त्रीले संसदको रोष्ट्रममा बोलेका कुरा न ऐतिहासिक प्रमाण र तथ्यहरूमा आधारित छन्, न त यसअघि भारतले नै दाबी गरेको छ।

परराष्ट्रका अनुसार प्रधानमन्त्रीले संसदमा उल्लेख गरेको विषय क्रस-बोर्डर अकुपेसनसँग सम्बन्धित हो, जसअन्तर्गत नदी आधारित सीमा प्रणालीका कारण कतिपय स्थानमा एक देशका नागरिकले अर्को देशको भूभागमा खेतीपाती वा बसोबास गर्ने प्रचलन रहँदै आएको छ।

यो नेपाल-भारत सम्बन्धको एउटा महत्वपूर्ण कडी हो, जो सदियौँदेखि निर्वाध रूपमा चलिरहेको छ।

बालेनलाई ज्ञात छ ‘सुगौली सन्धि’ ?

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसद्मा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्तिपछि देशको राजनीतिक वातावरण तरंगित छ। 

उक्त भनाइलाई लिएर संसद् र सडक तातेका छन् । राजनीतिक र कुटनीतिक वृत्तबाट शाहकाे चर्काे आलाेचना भइरहेकाे छ। 

प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रिय हित र नेपालको स्थापित सीमा सम्बन्धी अडानविपरीत रहेको भन्दै विपक्षी दलहरू आन्दाेलित छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपा तथा अन्य विपक्षी दलहरूले प्रधानमन्त्रीले आफ्नो भनाइ फिर्ता लिएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने भन्दै संसद चल्न दिएका छैनन् । उनीहरूले माग सम्बोधन नभएसम्म संसद् सञ्चालन हुन नदिने चेतावनी दिएका छन् । 

राष्ट्रियसभा बैठक पनि यही विवादका कारण प्रभावित बनेको छ।

प्रधानमन्त्रीले आफ्नो भनाइको तथ्य र आधार सार्वजनिक गर्नुपर्ने माग उठिरहेका छन् भने कतिपयले यसलाई नेपालको राष्ट्रिय अडान कमजोर बनाएकाे टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री शाहकाे अभिव्यक्तिमा संसद्बाहिर पनि विरोध चर्किएको छ। प्रधानमन्त्रीको भनाइविरुद्ध विभिन्न राजनीतिक संगठन तथा विद्यार्थी संगठनहरूले प्रदर्शन गर्दै देशभर पुत्ला दहन पनि गरेका छन्।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा छन्। उनले  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी देखि लिएर भाजपा अध्यक्ष नितिन नवीनका साथै सरकारमा रहेका उच्च अधिकारीहरूसँग भेट गरिसकेका छन्। 

उता भारतले नेपाल- भारत सिमा विवादकाे द्विपक्षीय विषयमा तेस्रोपक्षको संलग्नता अस्वीकार गरेको छ । प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा विवाद समाधानमा बेलायतको पनि भूमिका हुनसक्ने अभिव्यक्ति प्रतिनिधिसभामा दिएका थिए । उक्त अभिव्यक्तितर्फ लक्षित गर्दै भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले यस्तो स्वीकार्य नहुने धारणा राखेका छन् ।

प्रधानमन्त्री शाहकाे याे अभिव्यक्तिपछि नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले तटबन्ध निर्माणमा रोक लगाएको छ। नेपाल-भारत सीमा संयुक्त गस्तीका क्रममा निर्माण कार्य रोक्न मौखिक आग्रह गरिएको स्थानीय प्रशासनले जनाएको छ।  स्थानिय प्रशासन भने माथिको आदेश कुरेर बसेको छ।

तर माथिबाट के आदेश भयो त्यो भने खुल्न सकेको छैन।

स्थानीय बासिन्दाले नदी कटानको जोखिम बढ्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। सुस्ता बचाउ युवा अभियानले पनि तटबन्ध रोकिँदा समस्या थप गम्भीर बन्ने चेतावनी दिएको छ। 

यता रास्वपा भने सीमा विवाद जस्ताे संवेदनशिल विषयलाई सामान्यीकरण गरिरहेकाे छ। रास्वपा कार्यकर्ताहरू प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गरिरहेका छन् । के साँच्चै जान्नेलाई छान्ने भनेर सरकारमा पुगेको दल, उक्त दलका नेता र कार्यकर्ताहरूले इतिहास बिर्सेका हुन् ? 

ज्ञात छ सुगौली सन्धि ?

नेपाल-भारत सीमा विवादको सन्दर्भमा बारम्बार चर्चा हुने ऐतिहासिक दस्तावेजमध्ये सुगौली सन्धि सबैभन्दा महत्वपूर्ण मानिन्छ । 

सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाल युद्धको अन्त्यपछि नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच भएको यही सन्धिले आधुनिक नेपालको सीमाको आधार तय गरेको थियो ।

सन् १८१५ डिसेम्बर ३ मा हस्ताक्षर भएको र १८१६ मार्च ४ मा औपचारिक रूपमा लागू गरिएको सुगौली सन्धि नेपालको इतिहासकै सबैभन्दा महत्वपूर्ण तथा विवादास्पद सम्झौतामध्ये एक मानिन्छ ।

नेपालका तर्फबाट सन्धिमा राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्याय तथा ब्रिटिस पक्षबाट लेफ्टिनेन्ट कर्नेल पेरिस ब्राडशले सन्धिपत्रमा हस्ताक्षर गरेका थिए ।

सुगौली सन्धिपछि नेपालले आफ्नो अधीनमा रहेका विशाल भूभाग गुमाउन बाध्य भयो । इतिहासकारहरूका अनुसार युद्धअघि नेपालको सीमा पूर्वमा टिस्टा नदीसम्म, पश्चिममा सतलज नदी आसपासका क्षेत्रसम्म तथा दक्षिणतर्फ हालका धेरै तराई भूभागसम्म फैलिएको थियो । 

तर युद्धमा पराजयपछि नेपालले काली नदीपश्चिमका कुमाउँ र गढवाल, काँगडा क्षेत्र, सिक्किमसँग जोडिएका भूभाग तथा तराईका ठूलो हिस्सा ब्रिटिसलाई सुम्पनुपरेको थियो ।

सन्धिले केवल भूभागको क्षति मात्र गराएन, नेपालको कूटनीतिक र सैन्य स्वायत्ततामाथि समेत प्रभाव पार्यो । काठमाडौंमा ब्रिटिस प्रतिनिधि राख्ने, गोर्खा सैनिकलाई ब्रिटिस सेनामा भर्ती गर्न अनुमति दिने तथा विदेशी सैन्य विज्ञ नियुक्तिमा प्रतिबन्ध लगाउने जस्ता प्रावधान पनि सन्धिमा समावेश थिए । त्यसअघि नेपालले फ्रान्सेली सैन्य प्रशिक्षकहरूको सहयोग लिँदै आएको थियो ।

यद्यपि सुगौली सन्धिपछि गुमाइएका सबै भूभाग नेपालबाट स्थायी रूपमा टाढा भएनन् । सन् १८१६ मै तराईका केही क्षेत्र नेपाललाई फिर्ता गरिएको थियो भने सन् १८५७ को भारतीय विद्रोह दबाउन नेपालले ब्रिटिसलाई सहयोग गरेबापत बाँके, बर्दिया, कैलाली र कञ्चनपुर क्षेत्र नेपाललाई फिर्ता दिइएको थियो । इतिहासमा यी भूभागलाई ‘नयाँ मुलुक’ भनेर चिनिन्छ ।

आज पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्बन्धी विवादमा सुगौली सन्धिको उल्लेख हुने गरेको छ । नेपालले लिम्पियाधुराबाट उद्गम भएको महाकाली नदीलाई आफ्नो पश्चिमी सीमा मान्दै आएको छ । 

यही ऐतिहासिक सन्धि, पुराना नक्सा र दस्तावेजका आधारमा नेपालले उक्त क्षेत्रमाथि आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ ।

सुगौली सन्धिको पूर्णपाठ

३ डिसेम्बर, १८१५

१. माननीय इस्ट इन्डिया कम्पनी र नेपाल राजाका बीच चीरस्थायी शान्ति र मैत्री कायम रहनेछ ।

२. युद्ध हुनुभन्दा पहिले दुवै राज्यका बीच जुन भू-भागका सम्बन्धमा विवाद थियो, ती भूभागहरु नेपालका राजाले परित्याग गर्छन् र ती भूभागहरुमाथि माननीय कम्पनीको प्रभुसत्ता स्वीकार गर्छन् ।

३. नेपालका राजा माननीय इस्ट इन्डिया कम्पनीलाई तल उल्लिखित इलाकाहरु सदाका निम्ति समर्पण गर्छन्,

– काली र राप्ती नदीको बीचका सम्पूर्ण तल्ला भागहरु,
– राप्ती र गण्डकी बीचको सम्पूर्ण तल्लो भूमि बुटवल छोडेर ,
-गण्डकी र कोशी बीचको समस्त तल्लो भूभाग,
-मेची र टिस्टाबीचको समस्त तल्लो भूमि,
-मेची नदीभन्दा पूर्वतर्फका सम्पूर्ण पहाडी इलाकाहरु, नागरीको दुर्ग र जमिन तथा नगरकोटको घाटी, जसमा मोरङबाट पहाडतिर जाने बाटो छ, यससँगै सो घाटी र नागरीका बीचका सबै भूभाग यस मितिदेखि ४० दिनभित्रमा गोर्खाली सेनाले खालि गरिदिनु पर्नेछ ।

४. नेपाल राज्यका प्रमुख र भारदारहरु, ज-जसको स्वार्थमा माथि उल्लिखित अभिधाराले हानि पुर्‍याएको छ, क्षतिपूर्तिका लागि ब्रिटिस सरकारले ती प्रमुखहरुलाई जम्माजम्मी सालाना दुई लाख रुपैयाँ पेन्सनका रुपमा दिन स्वीकार गर्छ । यो रकम नेपालका राजाको तजबिज अनुसार समानुपातमा बाँडिने छ । नेपालका राजाबाट यस रकमको अनुपात निश्चित भएपछि पेन्सनका लागि गभर्नर जनरलको मोहर र हस्ताक्षरसहितको सनदपत्र सम्बन्धित पेन्सनवालालाई दिइने छ ।

५. नेपालका राजा स्वयं आफ्ना सम्बन्धी तथा उत्तराधिकारीहरुको तर्फबाट काली नदीको पश्चिमी भूभागको सम्पूर्ण अधिकार परित्याग गर्छन् र साथै, त्यो इलाका तथा त्यस इलाकाका निवासीहरुसँग कुनै किसिमको सम्बन्ध नराख्न वचनबद्ध हुन्छन् ।

६. नेपालका राजा सिक्किमका राजालाई उनको प्रादेशिक अधिकारका सम्बन्धमा कुनै तरहबाट परेसान नगर्न र साथै, शान्ति भंग नगर्न स्वीकार गर्छन् र साथै के पनि स्वीकार गर्छन् भने यदि नेपाल अधिराज्य र सिक्किमका राजा अथवा सिक्किमका प्रजाहरुबीच कुनै मतभिन्नता उत्पन्न भएमा उक्त मतभिन्नता समाधान गर्न मध्यस्थको रुपमा ब्रिटिस सरकारलाई सुम्पनेछन् र नेपालका राजाले ब्रिटिस सरकारको निर्णय स्वीकार गर्नु पर्नेछ ।

७. नेपालका राजा यस नियमलाई स्वीकार गर्छन् कि ब्रिटिस सरकारको अनुमतिविना कुनै ब्रिटिस प्रजा तथा युरोपेली प्रजा अथवा अमेरिकीलाई आफ्नो सेवामा कहिल्यै पनि राख्ने छैनन् ।

८. दुवै राज्यका बीचमा मित्रता र शान्ति सम्बन्ध सुदृढ र समुन्नत गराउनका लागि एक राज्यका विश्वासपात्र मिनिस्टर दोस्रो राज्यमा रहनेछ भन्ने पनि स्वीकार गर्छन् ।

९. यो सन्धि, जसमा नौ अभिधारा समाविष्ट छन्, नेपालका राजाद्वारा आजको मितिदेखि १५ दिनभित्रमा अनुमोदन गरिनेछ । उक्त अनुमोदन लेफ्टिनेन्ट कर्नेल ब्रेडशालाई प्रदान गरिनेछ र उनले बीस दिनभित्र अथवा सम्भव भए सोभन्दा पनि अगावै गभर्नर जनरलबाट अनुमोदन गराई नेपालका राजालाई सो अनुमोदित सन्धिपत्र दिनेछन् ।

‘मर्लिन मोनरोको जन्मशताब्दी’

काठमाडौं। मेरिलिन मनरोको १००औँ जन्मजयन्ती हलिउडमा विशेष रूपमा मनाइएको छ ।

सन् १९२६ जुन १ मा लस एन्जलसमा जन्मिएकी मनरोको जन्मशताब्दीको अवसरमा सोमबार हलिउडभर विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

सन् १९६२ मा मात्र ३६ वर्षको उमेरमा निधन भएकी मेरिलिन मनरोलाई आज पनि हलिउडको सबैभन्दा प्रतिष्ठित र प्रतीकात्मक कलाकारमध्ये एक मानिन्छ ।

हलिउड बुलेभार्डस्थित ‘वाक अफ फेम’ मा पर्यटक मार्गदर्शक लेसी नोएलका अनुसार मनरोको नाम सुन्नासाथ हलिउडको पहिचान सम्झिन्छ। किनभने उनको आकर्षण र रहस्यमय व्यक्तित्व अझै पनि जीवित छ ।

सन् १९५३ को फिल्म ‘जेन्टलमेन प्रिफर ब्लोन्ड्स’ मा देखिएको उनको अभिनय, साथै हलिउडको ऐतिहासिक चाइनिज थिएटरमा उनका प्रशंसकहरूले ‘ह्याप्पी बर्थडे’ गीत गाएर जन्मदिन मनाएको दृश्य कार्यक्रमको मुख्य आकर्षण बनेको थियो । त्यहाँ १०० वटा गुलाब र जन्मदिनको केक पनि राखिएको थियो ।

उनको जन्मशताब्दीको अवसरमा आइतबारदेखि नै कार्यक्रमहरू सुरु भएका थिए । हलिउडस्थित एकेडेमी म्युजियमले ‘मेरिलिन मनरो : हलिउड आइकन’ नामक विशेष प्रदर्शनी सुरु गरेको छ।

जसमा उनको फिल्मी यात्रा र व्यक्तिगत जीवनका महत्वपूर्ण पक्षहरू प्रस्तुत गरिएको छ ।

यो प्रदर्शनी फेब्रुअरी २०२७ सम्म चल्नेछ र त्यसमा सयौं दुर्लभ सामग्रीहरू समावेश छन्। जसमा ‘डायमन्ड्स आर अ गर्ल्स बेस्ट फ्रेन्ड’ गीतमा प्रयोग गरिएको उनको चर्चित गुलाबी पोशाक पनि राखिएको छ ।

जुन ४ मा जुलियन्स अक्सन्सले ‘१०० इयर्स अफ मेरिलिन’ शीर्षकमा विशेष लिलामी आयोजना गर्दै करिब २०० वटा उनका व्यक्तिगत सामग्रीहरू बिक्री गर्ने तयारी गरेको छ ।

ती सामग्रीमा अप्रकाशित तस्बिर, अन्तिम फिल्मको स्क्रिप्ट, हस्तलिखित रेसिपी तथा प्रयोग गरिएको लिपस्टिकसमेत रहेका छन् ।

मेरिलिन मनरोको बाल्यकाल कठिन थियो । उनी अनाथालय र पालक परिवारबीच हुर्किएकी थिइन् । १६ वर्षकै उमेरमा विवाह गरेकी मनरोले पछि मोडलिङमार्फत करियर सुरु गरिन् ।

दोस्रो विश्वयुद्धका बेला कारखानामा काम गर्दा खिचिएको तस्बिरले उनको जीवन परिवर्तन गरिदियो र उनी हलिउडतर्फ उन्मुख भइन् ।

छिट्टै उनले फक्स स्टुडियोसँग सम्झौता पाइन् र छोटो समयमा नै विश्वव्यापी स्टार बनिन् । अभिनयसँगै उनले आफ्नै निर्माण कम्पनी पनि स्थापना गरिन् र स्टुडियो प्रणालीको दबाबलाई चुनौती दिइन् ।

उनको प्रसिद्ध दृश्यहरूमा ‘द सेभेन इयर इच’ फिल्मको सबवे भेन्टमाथि उभिएर सेतो पोशाक सम्हाल्ने दृश्य आज पनि सबैभन्दा चिनिने सिनेमाटिक क्षणमध्ये एक मानिन्छ ।

उनको व्यक्तिगत जीवन पनि निकै चर्चित रह्यो । जो डिमाजियोसँग छोटो विवाह, पछि नाटककार आर्थर मिलरसँग पाँच वर्षको सम्बन्ध तथा अमेरिकी राष्ट्रपति जोन एफ केनेडी र रोबर्ट एफ केनेडीसँग उनको नाम जोडिनु हलिउड इतिहासका चर्चित प्रसंग हुन् ।

सन् १९६२ अगस्टमा लस एन्जलसस्थित आफ्नै घरमा लागुऔषधको अत्यधिक सेवनका कारण मनरोको निधन भयो । उनी केवल ३६ वर्षकी थिइन्, तर आज पनि उनी हलिउड संस्कृतिको अविस्मरणीय ध्रुवतारा का रुपमा सदा जाज्वल्यमान छिन्।

मन्त्रिपरिषद् बैठक: भूमि समस्या समाधान समितिमा नयाँ नियुक्ति

काठमाडौं। मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्थासम्बन्धी महत्वपूर्ण निर्णय गर्दै भूमि समस्या समाधान समितिमा रिक्त पदहरूमा नयाँ नियुक्ति गरेको छ।

मंगलबार बसेको बैठकले समितिको अध्यक्ष पदमा कास्कीका बलभद्र बास्तोला नियुक्त गरेको हो। त्यस्तै समितिको सदस्यमा काठमाडौँका अमिर प्रसाद न्यौपाने, लमजुङकी पद्मनिती सोती र काठमाडौँकी डा. रोना श्रेष्ठलाई नियुक्त गरिएको छ।

सरकारले भूमिसम्बन्धी दीर्घकालीन समस्या समाधान, भूमिहीन तथा सुकुम्बासी व्यवस्थापन, र भूमि प्रशासनलाई व्यवस्थित बनाउन गठन गरिएको समितिलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित नियुक्ति प्रक्रिया अघि बढाएको हो।

नयाँ नेतृत्वसँगै समितिले रोकिएका कार्यहरूलाई तीव्रता दिने र भूमि समस्या समाधानका लागि नीति तथा कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। भूमि व्यवस्थापनलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन सरकारले यस समितिलाई महत्वपूर्ण भूमिकामा राखेको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार नियुक्त भएका पदाधिकारीहरूले सम्बन्धित जिम्मेवारी सम्हाल्नेछन्। सरकारले भूमिसम्बन्धी समस्या समाधानलाई प्राथमिकतामा राख्दै विभिन्न चरणमा सुधारात्मक कदमहरू चाल्दै आएको छ।

यस निर्णयलाई भूमि प्रशासन सुधार र दीर्घकालीन समस्या समाधानतर्फको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।

श्रीलंकामा ह्वात्तै बढ्यो डिजेल-पेट्रोलको मूल्य

एजेन्सी । श्रीलंकाले पेट्रोल र डिजेलको मूल्य करिब ६ प्रतिशतसम्म बढाएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को आर्थिक सुधार कार्यक्रमअनुसार इन्धनको वास्तविक लागतका आधारमा मूल्य समायोजन गर्ने तथा सरकारी अनुदान क्रमशः हटाउने नीतिअन्तर्गत यो निर्णय गरिएको हो।

राज्य सञ्चालित इन्धन कम्पनीका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४१० रुपैयाँबाट बढाएर ४३४ रुपैयाँ र डिजेलको मूल्य ३९२ रुपैयाँबाट बढाएर ४०७ रुपैयाँ कायम गरिएको छ।

यो मूल्यवृद्धि आईएमएफले श्रीलंकालाई उपलब्ध गराउँदै आएको २.९ अर्ब अमेरिकी डलरको सहायता कार्यक्रमअन्तर्गत ६९.५ करोड डलर बराबरको अर्को किस्ता स्वीकृत गरेको केही दिनपछि गरिएको हो। सन् २०२३ मा सुरु भएको उक्त कार्यक्रमको उद्देश्य आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाको अर्थतन्त्रलाई स्थायित्व प्रदान गर्नु रहेको छ।

आईएमएफले श्रीलंकालाई इन्धन र विद्युत् क्षेत्रमा लागतअनुसार मूल्य निर्धारण गर्न तथा सरकारी अनुदान घटाउन निरन्तर आग्रह गर्दै आएको छ। सोहीअनुसार सरकारले ऊर्जा क्षेत्रमा दिइँदै आएको अनुदान हटाउने प्रक्रिया तीव्र बनाएको जनाएको छ।

राष्ट्रपति अनुरा कुमार दिसानायके ले आईएमएफलाई पठाएको पत्रमा आगामी सेप्टेम्बरसम्म इन्धन अनुदान पूर्ण रूपमा हटाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

विश्लेषकहरूका अनुसार फेब्रुअरी अन्त्ययता पश्चिम एसियामा बढेको तनावका कारण विश्व ऊर्जा बजार प्रभावित भएको छ। यसको असर आयातित इन्धनमा निर्भर श्रीलंकाको अर्थतन्त्रमा पनि परेको छ, जसले इन्धन मूल्यमा थप दबाब सिर्जना गरेको बताइएको छ।

जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन समितिको म्याद ४५ दिन थप

काठमाडौं। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २०८२ साल भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घटेका घटनाबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन अध्ययन गर्ने समितिको म्याद थप गर्ने निर्णय गरेको छ।

गृह मन्त्रालयको प्रस्तावमा बसेको मंगलबारको बैठकले उक्त समितिको कार्यावधि थप ४५ दिनका लागि विस्तार गरेको हो। आयोगले तयार पारेको प्रतिवेदनमा उल्लेखित विषयहरूको गहिरो अध्ययन गरी आवश्यक सिफारिस गर्ने उद्देश्यसहित गठन गरिएको समितिले हालसम्मको कार्य प्रगति र बाँकी कामलाई ध्यानमा राख्दै समय थप गरिएको जनाइएको छ।

सरकारले प्रतिवेदनमा समावेश सुरक्षा संयन्त्र, प्रशासनिक प्रक्रिया तथा घटनासँग सम्बन्धित विभिन्न पक्षहरूको विस्तृत विश्लेषण गरी निष्कर्षमा पुग्ने तयारी गरेको छ। समितिले प्रतिवेदन अध्ययनपछि सम्बन्धित निकायलाई सुधारात्मक सिफारिसहरू प्रस्तुत गर्नेछ।

मन्त्रिपरिषद्को निर्णयअनुसार थपिएको ४५ दिनभित्र समितिले बाँकी अध्ययन कार्य सम्पन्न गरी अन्तिम प्रतिवेदन सरकारलाई बुझाउनेछ। गृह मन्त्रालयका अनुसार समितिको कामलाई प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन र सहजीकरण निरन्तर उपलब्ध गराइनेछ। सरकारले समितिको निष्कर्षलाई नीति निर्माण र सुरक्षा व्यवस्थामा सुधारका लागि उपयोग गर्ने जनाएको छ।

अन्जनीकुमार पोख्रेल सशस्त्रको एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं। मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको छ।

गृह मन्त्रालयको प्रस्तावमा बसेको मंगलबारको बैठकले सशस्त्र प्रहरी नायब निरीक्षक अन्जनी कुमार पोख्रेललाई एआईजी पदमा बढुवा गर्ने निर्णय गरेको हो। लामो समयदेखि रिक्त रहेको उच्च तहको पदपूर्तिसम्बन्धी यो निर्णयसँगै संगठनात्मक संरचना सुदृढ हुने अपेक्षा गरिएको छ।

बैठकले सशस्त्र प्रहरी बलको नेतृत्व तहमा आवश्यक पदपूर्ति गर्दै सुरक्षा निकायको कार्यक्षमता र प्रशासनिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्य लिएको छ। बढुवासम्बन्धी निर्णयपछि पोख्रेल अब सशस्त्र प्रहरी बलको उच्च नेतृत्व तहमा पुग्नेछन्।

सरकारले नियमित रूपमा सुरक्षा निकायमा रिक्त पदहरू पूर्ति गर्दै संस्थागत सन्तुलन कायम गर्ने नीति लिँदै आएको छ। यसै क्रममा गरिएको पछिल्लो बढुवा निर्णयलाई सशस्त्र प्रहरी बलको संगठनात्मक सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

गृह मन्त्रालयका अनुसार बढुवा प्रक्रिया सम्बन्धित नियम र मापदण्डअनुसार नै सम्पन्न गरिएको हो। मन्त्रिपरिषद्को निर्णयपछि बढुवा कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ।

जापानमा भालुको आतंक : चार जना घाइते

काठमाडौं । उत्तरपूर्वी जापानको फुकुसिमा शहरमा मंगलबार एक भालुले शृङ्खलाबद्ध आक्रमण गर्दा चार जना घाइते भएका छन्।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आक्रमणमा परेका सबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

स्थानीय समयअनुसार बिहान करिब ६:३० बजे एक निर्माण कम्पनीमा कार्यरत दुई पुरुष कर्मचारीमाथि भालुले अचानक आक्रमण गरेको थियो। घटनापछि भालु नजिकैको आवासीय क्षेत्रमा प्रवेश गरेको बताइएको छ।

प्रहरीका अनुसार त्यसपछि भालु एउटा घरभित्र पसेर ८० वर्षीया वृद्ध महिलामाथि आक्रमण गरेको थियो। लगत्तै अर्को कार्यालय भवनमा प्रवेश गरी ६० वर्षीय एक पुरुष कर्मचारीलाई समेत घाइते बनाएको जनाएको छ।

स्थानीय अधिकारीहरूका अनुसार गत सातादेखि नै फुकुसिमा आसपासका क्षेत्रमा भालु देखिने घटनाहरू बढेका थिए। आक्रमणमा संलग्न भालु अझै पनि सोही क्षेत्रमा सक्रिय रहेको विश्वास गरिएको छ।

बस्ती क्षेत्रमा भालुको उपस्थितिले थप जोखिम बढेको भन्दै स्थानीय प्रहरी र सम्बन्धित निकायहरूले भालुलाई नियन्त्रणमा लिन विशेष अभियान सञ्चालन गर्ने तयारी गरेका छन्। आवश्यक परे भालुलाई गोली हान्ने अनुमति दिने तथा प्रभावित क्षेत्रमा आपतकालीन सुरक्षा व्यवस्था लागू गर्ने विषयमा समेत छलफल भइरहेको बताइएको छ।

हाल स्थानीय प्रशासनले सर्वसाधारणलाई सतर्क रहन, एक्लै आवतजावत नगर्न र भालु देखिएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।

नेपालमा सेवा विस्तारको तयारीमा स्टारलिंक

काठमाडौं । स्याटेलाइट प्रविधिमा आधारित इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिंकले नेपालमा सेवा विस्तारका लागि सरकारसँग औपचारिक छलफल अघि बढाएको छ।

कम्पनीकी निर्देशक रेबिका हन्टरले सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनासँग भेट गरी नेपालमा सेवा सञ्चालनका लागि भइरहेको तयारीबारे जानकारी गराएकी हुन्।

मन्त्रालयमा भएको भेटवार्ताका क्रममा हन्टरले स्टारलिंक नेपालमा सेवा सञ्चालन गर्न इच्छुक रहेको तर केही नीतिगत तथा कानुनी जटिलताका कारण हालसम्म अनुमति प्राप्त हुन नसकेको बताइन्। उनले कम्पनीको स्वामित्व संरचनासम्बन्धी नीति उल्लेख गर्दै सेवा सञ्चालनका लागि जारी गरिने लाइसेन्समा शतप्रतिशत स्टारलिंककै स्वामित्व हुनुपर्ने कम्पनीको अडान रहेको जानकारी दिइन्।

स्टारलिंकले नेपालमा सम्भावित व्यावसायिक साझेदारी र सहकार्यका विषयमा केही इन्टरनेट सेवा प्रदायक कम्पनीहरूसँग समेत छलफल गरिरहेको जनाएको छ। कम्पनीले विशेषगरी दुर्गम र भौगोलिक रूपमा कठिन पहुँच भएका क्षेत्रमा उच्च गतिको इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य राखेको बताएको छ।

भेटका क्रममा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपालको विद्यमान दूरसञ्चार नीति तथा कानुनी व्यवस्थाअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि कुनै पनि अन्तर्राष्ट्रिय कम्पनीलाई सेवा सञ्चालनमा समस्या नहुने स्पष्ट पारे। उनले कानुनी तथा नियामकीय प्रावधान पूरा गरे सरकारले आवश्यक सहजीकरण गर्न तयार रहेको बताएका छन्।

स्टारलिंक विश्वका विभिन्न देशमा स्याटेलाइटमार्फत उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको कम्पनी हो।

नेपालमा यसको सम्भावित प्रवेशलाई विशेषगरी दुर्गम बस्तीहरूमा इन्टरनेट पहुँच विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

कम्पनीले आवश्यक स्वीकृति प्राप्त गर्ने प्रक्रिया तीव्र बनाएको जनाएको छ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ। सरकारले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ओजोन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकल कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वातावरण संरक्षण र ओजोन तहको सुरक्षासँग सम्बन्धित उक्त सम्झौतालाई अघि बढाउने निर्णय गरेको हो।

त्यस्तै, गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बल नेपालमा रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा सशस्त्र प्रहरी नायब निरीक्षक अन्जनी कुमार पोख्रेललाई बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ।

गृह मन्त्रालयकै अर्को प्रस्तावअनुसार २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन अध्ययन गर्ने समितिको म्याद ४५ दिनका लागि थप गरिएको छ।

यसैगरी, भूमि व्यवस्थासम्बन्धी निर्णय अन्तर्गत सरकारले भूमि समस्या समाधान समितिमा रिक्त पदहरूमा नियुक्ति गरेको छ। समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्तोला नियुक्त भएका छन्। सदस्यहरूमा काठमाडौँका अमिर प्रसाद न्यौपाने, लमजुङकी पद्मनिती सोती र काठमाडौँकी डा. रोना श्रेष्ठ नियुक्त भएका छन्।

डलरसहित डाक्टर पक्राउ

काठमाडौं। गैरकानुनी रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) सञ्चय तथा कारोबार गरेको र डिजिटल माध्यमबाट ठगी गरेको आरोपमा प्रहरीले २९ वर्षीय डा. पप्पुकुमार यादवलाई पक्राउ गरेको छ।

प्रहरीले उनको साथबाट ३० हजार अमेरिकी डलर र १७ थान मोबाइल बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धनुषाको हंसपुर नगरपालिका–४ स्थायी घर भएका डा. यादव भरतपुर महानगरपालिका–१० चित्रसेन टोलमा कोठा भाडामा लिएर बस्दै आएका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा उनले अवैध क्रिप्टोकरेन्सी कारोबारसम्बन्धी नेटवर्क सञ्चालन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार डा. यादवले मोबाइल तथा अन्य विद्युतीय उपकरणमार्फत नेपालमा प्रतिबन्धित मानिएका ‘बाइनान्स’ र ‘बाइविट’ जस्ता एप प्रयोग गरेर क्रिप्टोकरेन्सीको अवैध सञ्चय तथा कारोबार गरिरहेको भेटिएको हो।

भरतपुरस्थित एक अस्पतालमा कार्यरत रहेका यादवले डिजिटल माध्यमबाट ठगीसमेत गरेको आशंकामा अनुसन्धान भइरहेको छ।

हालसम्म उनले कति व्यक्तिसँग कति रकमको कारोबार वा ठगी गरेका हुन् भन्ने विषयमा थप तथ्यहरू खुल्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले बताएका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

रास्वपाको निर्वाचन विभाग प्रमुख बने भुवन केसी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय निर्वाचन विभाग प्रमुखमा भुवन केसीलाई मनोनयन गरेको छ।

पार्टीको केन्द्रीय सचिवालय बैठकले केसीलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका हुन्।

रास्वपाले पार्टीको विधान, नीति, सिद्धान्त तथा निर्वाचन आयोगसम्बन्धी नियमावली र कार्यविधिअनुसार केसीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।

प्रधानन्यायाधीश शर्माको न्यायाधीशहरूलाई २१ बुँदे निर्देशन

काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई २१ बुँदे निर्देशन दिएका छन्।

सोमबार जुम बैठकमार्फत उनले न्यायपालिकाप्रति जनआस्था बढाउने उद्देश्यसहित उक्त निर्देशन जारी गरेका हुन्। उनले न्याय प्रशासन प्रभावकारी बनाउन व्यक्तिगत प्रयास मात्र पर्याप्त नभएको भन्दै सामूहिक सहयोग आवश्यक रहेको बताए।

निर्देशनमा उनले जनआस्था अभिवृद्धि, मुद्दा फर्छ्यौटमा तीव्रता, सुशासन, पारदर्शिता, प्रविधिको प्रयोग, सेवा प्रवाह सुधार तथा विकृति–विसंगतिप्रति शून्य सहनशीलता लागू गर्नुपर्नेमा जोड दिएका छन्।

प्रधानन्यायाधीश शर्माले आर्थिक वर्षको अन्त्यसम्म दुई वर्ष नाघेका मुद्दा र २०८३ पुस मसान्तसम्म १८ महिना नाघेका मुद्दा शून्यमा झार्ने लक्ष्यसहित काम गर्न निर्देशन दिएका छन्।

त्यसैगरी अदालतमा हुने अनियमितता, बिचौलियाजन्य गतिविधि र आचरणविपरीतका क्रियाकलापमा शून्य सहनशीलता अपनाउन पनि उनले निर्देशन दिएका छन्। अदालत प्रवेशदेखि फैसला कार्यान्वयनसम्मका सबै चरणमा कडा निगरानी गर्नुपर्ने उनको भनाइ छ।

अनलाइन बहस, भिडियो कन्फरेन्सिङ र लाइभ स्ट्रिमिङको प्रयोग बढाउनुपर्ने तथा फैसला लेखनलाई कानुनी समयसीमाभित्र पूरा गर्न विशेष प्राथमिकता दिनुपर्ने पनि निर्देशनमा उल्लेख छ।

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। 

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी रहेको छ।

चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिँदै ओली

काठमाडौं । २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन्। तर, अब उनी पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुने निश्चित भएको छ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार ओली जेठ २० र २१ गते केन्द्रीय संगठन विभागद्वारा आयोजित राष्ट्रिय कार्यशालामा सहभागी हुनेछन्। उनले ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने कार्यशालाको उद्घाटन गर्ने तय भएको छ।

काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना हुने उक्त कार्यशाला जेठ २० गते बिहान ११ बजेदेखि सुरु हुनेछ।

कार्यशालामा सम्पूर्ण प्रदेश तथा जिल्ला इन्चार्जहरू सहभागी हुनेछन्। साथै, प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी र कार्यालय सचिवहरू, जिल्ला कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरू तथा जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरूको पनि उपस्थिति रहने प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिए।

सुस्तामा तटबन्ध निर्माणमा भारतीय पक्षको अवरोधपछि यस्तो छ अवस्था(तस्वीरहरु)

सुस्ता। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीको कटान नियन्त्रणका लागि निर्माणाधीन तटबन्धको काममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले आपत्ति जनाएको छ। सीमा विवादित क्षेत्र रहेको भन्दै भारतीय पक्षले थप भौतिक संरचना निर्माण नगर्न मौखिक आग्रह गरेको जनाइएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार संयुक्त सीमा गस्तीका क्रममा भारतीय पक्षले उक्त विषय उठाएको थियो। त्यसपछि सम्बन्धित निकायमार्फत गृह मन्त्रालयलाई जानकारी गराइएको छ।

हाल सुस्ता गाउँपालिका–५ मा करिब १ किलोमिटर तटबन्ध निर्माणको काम भइरहेको छ, जसको अधिकांश काम सम्पन्न भइसकेको छ। तर त्यससँगै जोडिएको १३२ मिटर क्षेत्रमा भने माथिल्लो तहको सहमति प्राप्त गरेपछि मात्र निर्माण अघि बढाउन भारतीय पक्षले आग्रह गरेको छ।

नारायणी नदीको बाढी र कटानका कारण स्थानीय बस्ती तथा खेतीयोग्य जमिन जोखिममा पर्दै आएकाले तटबन्ध निर्माणलाई स्थानीयवासीले अत्यन्त आवश्यक पूर्वाधारका रूपमा लिएका छन्। स्थानीयहरूले निर्माणस्थल नेपाली भूमि भित्रै रहेको दाबी गर्दै रोकावटप्रति असन्तुष्टि जनाएका छन्।

तटबन्ध निर्माणका लागि छुट्टाछुट्टै ठेक्का सम्झौता भइसकेको र बजेटसमेत विनियोजन भइसकेको जनाइएको छ। स्थानीयवासीले निर्माण कार्य अविलम्ब सुचारु गर्न सरकारबाट आवश्यक पहल हुनुपर्ने माग गरेका छन्।

गुलशन र इशान किन पुगे बेल्जियम ?

काठमाडौँ । बेल्जियममा यसै साता सुरु हुने ‘२०२६ इयु टी–ट्वान्टी’ क्रिकेट प्रतियोगिताको पहिलो संस्करण खेल्न नेपाली राष्ट्रिय टोलीका खेलाडी गुलशन झा र इशान पाण्डे बेल्जियम प्रस्थान गरेका छन्। प्रतियोगिता आगामी शनिबारदेखि सुरु हुँदैछ।

नेपाल क्रिकेट संघ (क्यान) को स्वीकृतिमा दुवै खेलाडी प्रतियोगितामा सहभागी हुन बेल्जियम गएका हुन्। नेपाल ‘ए’ टोलीबाट खेलिरहेका अनिल शाह र ललित नारायण राजवंशी पनि प्रतियोगिताका लागि बेल्जियम जाने तयारीमा रहेका छन्।

हाल अनिलको कप्तानीमा रहेको नेपाल ‘ए’ टोली भारतको उत्तराखण्डमा जारी उत्तराखण्ड गोल्डकप क्रिकेट प्रतियोगितामा सहभागी छ। टोलीले आज आफ्नो अन्तिम खेल खेल्दैछ।

सुरुआती दुई खेलमा पराजित हुँदै नेपाल ‘ए’ प्रतियोगिताबाट बाहिरिसकेको छ। त्यसपछि अनिल र ललित पनि बेल्जियम जाने भएका हुन्। उनीहरू दुवै जेबी ब्रुग्स क्लबसँग आबद्ध छन्।

यसबीच, नेपाली राष्ट्रिय टोली सिंगापुरमा एसियन खेलकुद छनोट प्रतियोगिता खेलिरहेकाले अन्य राष्ट्रिय खेलाडीहरू भने तत्काल बेल्जियम जान नसक्ने भएका छन्। यद्यपि दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख र लोकेश बम पनि बेल्जियम लिग खेल्ने टोलीमा समावेश रहेका छन्।

बढ्यो सुनको मूल्य

काठमाडौँ। नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि भएर ३ लाख ११ हजार ३०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सोमबार सुन प्रतितोला ३ लाख १० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेको छ। सोमबार ५ हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ४०५ रुपैयाँ प्रतितोलामा किनबेच भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४ हजार ५१७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फरार भएका ६ जना पक्राउ

बनेपा। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न मुद्दामा अदालतबाट सजाय सुनाइएपछि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको संयुक्त टोलीले विभिन्न समयमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये चोरी, अभद्र व्यवहार, लागुऔषध तथा वैदेशिक रोजगारीसम्बन्धी कसुरका मुद्दामा सजाय तोकिएका व्यक्तिहरू रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जनालाई अभद्र व्यवहार मुद्दामा २६ दिन, दुई जनालाई चोरी मुद्दामा क्रमशः ५ महिना ५ दिन र ५ महिना ३ दिन, एक जनालाई लागुऔषध मुद्दामा २ महिना ४ दिन तथा एक जनालाई वैदेशिक रोजगारीसम्बन्धी कसुरमा २ वर्ष कैद सजाय तोकिएको थियो। अर्का एक प्रतिवादी पनि अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार पक्राउ परेका सबैलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित गराई ७ दिनको म्याद थप गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ।

प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट कुल ३ वर्ष ६ महिना ७ दिन कैद तथा ८ लाख १२ हजार रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको छ। फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।

विरगंजका मेयर सिंह पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सिंहलाई आज बिहान करिब ६ः१५ बजे पर्साको ठोरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा जेठ १२ गते पक्राउ पुर्जी जारी गरेको थियो।

स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा अदालतले मेयर सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जनाएको छ।

पक्राउ परेका सिंहलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान तथा सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएको छ।

३ करोडको सुनसहित अग्रवाल पक्राउ

वीरेन्द्रनगर। सुर्खेत प्रहरीले करिब तीन करोड रुपैयाँ बराबरको सुनचाँदीका गहना बरामद गर्दै व्यवसायी श्यामसुन्दर अग्रवाललाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका–६ स्थित राजाचोक नजिक रहेको ‘शिव इम्पोरिय’ नामक पसलमा छापा मारेर अग्रवाललाई नियन्त्रणमा लिइएको हो।

प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी कविन्द्रसिंह बोहराका अनुसार अग्रवालको साथबाट नेपाली रुपैयाँ २ लाख १९ हजार ५००, भारतीय रुपैयाँ ८ लाख ११ हजार ९००, नगद गन्ने मेसिन एक थान तथा विभिन्न प्रकारका सुनचाँदीका गरगहना राखिएका १८५ वटा बट्टा र डिब्बा बरामद गरिएको छ। बरामद गरिएका गरगहनाको अनुमानित मूल्य करिब तीन करोड रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका अग्रवालमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

हर्मुज जलमार्ग बन्द गर्ने इरानको निर्णय, के होला अब ?

इरानले जारी गरेको विज्ञप्तिमा लेबनानमा युद्धविराम कायम गर्नु अमेरिकासँगको समझदारीको प्रमुख सर्त रहेको उल्लेख गर्दै हाल विभिन्न मोर्चामा युद्धविराम उल्लङ्घन भइरहेको आरोप लगाएको छ। साथै, इरान र उसका सहयोगीहरूले आवश्यक परे ‘स्ट्रेट अफ हर्मुज’ लगायतका सामरिक जलमार्गहरूमा दबाब बढाउने चेतावनी पनि दिएका छन्।

इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले कुनै एक क्षेत्रमा भएको युद्धविराम उल्लङ्घनलाई सम्पूर्ण समझदारीको उल्लङ्घनका रूपमा लिनुपर्ने बताएका छन्। संसद्का सभामुख मोहम्मद बाघर गालिबाफले पनि अमेरिकाको नीति र लेबनानमा इजरायली कारबाहीलाई युद्धविरामविपरीतको कदम भएको बताएका छन्।

विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले अमेरिकाबाट आएका नयाँ तथा परस्पर विरोधी मागका कारण शान्ति वार्ता अवरुद्ध भएको दाबी गरेका छन्।

इरान र अमेरिकाबीच ४० दिन लामो तनावपछि अप्रिल ८ मा युद्धविराम भएको थियो। त्यसपछि पाकिस्तानको इस्लामावादमा शान्ति वार्ताको एक चरण सम्पन्न भए पनि ठोस सहमति हुन सकेको थिएन। पछिल्ला हप्ताहरूमा दुवै पक्षले पाकिस्तानको मध्यस्थतामा विभिन्न प्रस्ताव आदानप्रदान गर्दै युद्ध अन्त्यका लागि समझदारीको खाका तयार गरिरहेका थिए।

यता, इजरायल र लेबनानबीच अप्रिल मध्यमा युद्धविराम भए पनि इजरायलले लेबनानमा आक्रमण जारी राखेको र हेजबुल्लाहले पनि इजरायली सैन्य लक्ष्यहरूमा जवाफी कारबाही गरिरहेको बताइएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हेजबुल्लाहबीच तनाव कम गर्ने सहमति भएको दाबी गरेका छन्। उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको कुराकानी सकारात्मक भएको उल्लेख गर्दै बेरुततर्फ कुनै नयाँ सैन्य अभियान अघि नबढ्ने बताएका छन्। ट्रम्पले भने इरानले वार्ता स्थगित गरेको विषयमा आफूलाई जानकारी नभएको बताएका छन्।

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्यान्ह १२ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने जनाइएको छ।

सभापति लामिछाने र भाजपा अध्यक्ष नीतिन नविनबीच भेटवार्ता हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतको राजधानी नयाँ दिल्लीमा विभिन्न राजनीतिक भेटवार्ता गर्ने भएका छन्।

भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा रहेका लामिछानेले आज नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा पार्टीका अध्यक्ष नीतिन नविनसहित उच्च तहका नेताहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ।

सभापति लामिछानेको सचिवालयका अनुसार भेटवार्तामा नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक शक्तिबीचको सहकार्य, राजनीतिक अनुभव आदानप्रदान तथा दुई देशका दलहरूबीचको सम्बन्ध थप सुदृढ बनाउने विषयमा केन्द्रित छलफल हुनेछ।

छाया सरकार गठनको चर्चा गलत : भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले ‘छाया मन्त्रिपरिषद्’ गठन गरेको भन्ने चर्चा गलत भएको स्पष्ट पारेका छन् ।

उनले कांग्रेस संसदीय दलको विधानअनुसार १८ वटा मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकिएको र त्यसलाई छाया सरकार वा छाया मन्त्रिपरिषद् भन्न नमिल्ने बताए ।

आङ्देम्बेका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई समेटेर मन्त्रालयगत रूपमा जिम्मेवारी बाँडफाँट गरिएको हो, जसको उद्देश्य संसदीय कामलाई प्रभावकारी बनाउनु मात्र हो, सरकारको विकल्पका रूपमा समानान्तर संरचना खडा गर्नु होइन ।

उनले पहिले नेपाली राजनीतिमा ‘छाया सरकार’ भन्ने शब्दावली प्रयोग हुने गरेको भए पनि अहिले कांग्रेसले त्यस्तो संरचना नबनाएको स्पष्ट पारे ।

उनले भने, ‘हामीले बनाएको छाया सरकार होइन । संसदीय दलको विधानअनुसार विषयगत समिति संयोजक तोकिएको हो । पहिले छाया सरकार भन्थे, अहिले त्यस्तो होइन ।’

कांग्रेसले छाया सरकार बनाएको भनेर सोमबार समाचारहरू सार्वजनिक भएका थिए ।

‘बालेन सरकारको दादागिरी चल्दैन, हद भयो’ भन्दै प्रतिकार गर्न हर्कको अपिल

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले धरान ११ र १ नम्बर वडामा डोजर चलाउन सरकारले आदेश दिएको भन्दै प्रतिकारमा उत्रिन स्थानीयलाई उक्साएका छन् ।

नेपाली भूमि खाली गरेर भारतलाई सुम्पिन खोज्दैछ कि के हो भन्दै उनले देश बचाउने दिन आएको र अब प्रतिकारमा उत्रिन आह्वान गरेका हुन् ।

बालेन सरकारलाई ‘घण्टी सरकार’ भन्दै आक्रोश पोखेका उनले सोधेका छन्, ‘रास्वपा घण्टी पार्टीले फेरि धरान ११ र १ मा घर भत्काउने आदेश पठाएछ ? तिम्ले बनाइदेको घर हो ? तिम्रो बाऊले जोडिदिएको जग्गा हो ?’

उनले हदै भएको भन्दै अब आउने चुनावमा रास्वपाको नाम लिएर आउनेलाई छिर्न नदिनु भन्दै उर्दी जारी गरेका छन् ।

उनले बालेन सरकारको दादागिरी नचल्ने पनि बताए ।

भारतलाई खुसी पार्ने बालेन बोलीपछि रविको हिन्दुस्तान टाइम्समा लेख

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणको क्रममा हिन्दुस्तान टाइम्समा एक लेख लेख्दै नेपाल अब ३० वर्षको राजनीतिक अस्थिरता र भ्रष्टाचारको चक्रबाट बाहिर निस्किएको दाबी गरेका छन् ।

उनले नेपाल ‘विकासको निर्णायक फड्को’ तर्फ अघि बढिरहेको बताए । शंकास्पद जेन-जी विद्रोहपछि भएको चुनावी परिणामलाई ‘जनताको मतबाट आएको शान्तिपूर्ण रूपान्तरण’ भन्दै व्याख्या गरेका छन् ।

उनले देश अब संघर्ष र अस्थिरताको अध्यायबाट बाहिर निस्केर सुशासन, परिणाममुखी नीति र विकास–केन्द्रित राजनीतिमा प्रवेश गरिरहेको दाबी गरेका छन् ।

विगत तीन दशकलाई अनिश्चितता, संस्थागत कमजोरी र भ्रष्टाचारले गाँजिएको अवधि भन्दै अब नेपालसँग ती कमजोरीहरू पार गर्दै नयाँ आर्थिक दिशा तय गर्ने ऐतिहासिक अवसर आएको र भारतसँग सहकार्य गर्न चाहेको बताए ।

लामिछानेले नेपाल-भारत सम्बन्धलाई पनि विकास–केन्द्रित दृष्टिकोणबाट पुनःपरिभाषित गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले दुवै देशलाई कूटनीतिक वा भू-राजनीतिक दृष्टिले मात्र होइन, सीमापार आर्थिक एकीकरण र साझा समृद्धिको आधारमा हेर्नुपर्ने तर्क गरे ।

उनका अनुसार रक्सौल-काठमाडौं रेलमार्ग, सीमापार ऊर्जा व्यापार, डिजिटल कनेक्टिभिटी, पर्यटन सर्किट, आईटी र शिक्षा क्षेत्रमा सहकार्यजस्ता परियोजनाले दुई देशबीचको सम्बन्धलाई नयाँ चरणमा पुर्‍याउन सक्छन् ।

लामिछानेले लेखमा नेपालले भारतको तीव्र आर्थिक रूपान्तरणबाट सिक्दै जलविद्युत्, डिजिटल अर्थतन्त्र र युवा–केन्द्रित नवप्रवर्तनमार्फत विकासको गति बढाउनुपर्नेमा जोड दिए ।

उनले नेपाललाई छिमेकी देश नभई क्षेत्रीय विकास साझेदारका रूपमा प्रस्तुत गर्नुपर्ने दृष्टिकोण राखेका छन् ।

लामिछानेले नेपाल–भारत सम्बन्धलाई हजारौं वर्ष पुरानो सभ्यताको साझेदारी भन्दै दुवै देशबीच विश्वास, पारदर्शिता र व्यावहारिक सहकार्य पुनःस्थापना गर्नुपर्नेमा जोड दिए ।

https://www.hindustantimes.com/india-news/how-can-an-aspirational-nepal-and-a-rising-india-reconnect-101780362877583.html

बालेनको ‘राष्ट्रघाती’अभिव्यक्तिपछि संसद् अवरुद्ध, सडकमा मसाल, सुस्तामा तनाव

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसदमा ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि देशको राजनीतिक अवस्था तनावपूर्ण बनेको छ।

उक्त अभिव्यक्तिलाई लिएर संसद् लगातार अवरुद्ध हुनुका साथै सडक प्रदर्शन, सीमा क्षेत्रमा विवाद र राजनीतिक आरोप-प्रत्यारोप तीव्र बनेका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले नाराबाजी गर्दै अवरोध गरेपछि बजेटमाथिको छलफल अघि बढ्न सकेन। पटक-पटक अवरुद्ध भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्। राष्ट्रिय सभा बैठक पनि अवरुद्ध भएको छ।

विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘गम्भीर र आपत्तिजनक’ भन्दै माफी माग्नुपर्ने माग गरेका छन्।

सदनभित्र निरन्तर अवरोध जारी राख्ने उनीहरूको चेतावनीपछि संसदीय वातावरण झनै तनावपूर्ण बनेको छ।

सडकमा प्रदर्शन र गिरफ्तारी

बालेनको अभिव्यक्तिको विरोधमा राजनीतिक दल र उनीहरूका भातृ संगठनहरूले देशका विभिन्न स्थानमा सोमबार प्रदर्शन गरेका छन्।

काठमाडौंसहित विभिन्न शहरमा जुलुस, मसाल जुलुस र पुत्ला दहन भएका छन्। प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्।

सिंहदरबार दक्षिण गेटमा भएको प्रदर्शनका क्रममा कांग्रेस निकट विद्यार्थी संगठनका ६ जना नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाथोकी र गौरव पाण्डे रहेका छन्।

संयुक्त विज्ञप्ति जारी गर्दै केही युवा संगठनहरूले प्रधानमन्त्रीलाई तत्काल माफी मागेर राजीनामा दिन चेतावनी दिएका छन्।

सुस्तामा सीमा विवाद

उता नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले तटबन्ध निर्माणमा रोक लगाएको खबर सार्वजनिक भएको छ। नेपाल-भारत संयुक्त गस्तीका क्रममा निर्माण कार्य रोक्न मौखिक आग्रह गरिएको स्थानीय प्रशासनले जनाएको छ।

स्थानीय बासिन्दाले नदी कटानको जोखिम बढ्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। सुस्ता बचाउ युवा अभियानले पनि तटबन्ध रोकिँदा समस्या थप गम्भीर बन्ने चेतावनी दिएको छ।

दलहरूको कडा प्रतिक्रिया

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई कडा शब्दमा आलोचना गरेका छन्। एमालेले यसलाई ‘राष्ट्रघाती’ भन्दै प्रधानमन्त्रीले माफी नमागेसम्म सदन सञ्चालन हुन नदिने चेतावनी दिएको छ।

कांग्रेसले भने अभिव्यक्तिलाई कूटनीतिक मर्यादाविपरीत भन्दै प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्ने बताएको छ। कांग्रेसले भनेको छ, ‘यो अभिव्यक्ति राष्ट्रहित विपरीत र कूटनीतिक मर्यादाविपरीत छ । प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्छ ।’

नेकपा एमालेले पनि कडा प्रतिक्रिया दिएको छ । एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले भनिन्, ‘हाम्रो लागि देशभन्दा ठूलो विषय अरू केही छैन । अहिले बजेटमाथि छलफल चलाउने कुरा मात्र होइन, राष्ट्रहितसँग जोडिएको गम्भीर विषय उठेको छ । यस्तो विषयलाई बेवास्ता गरेर अगाडि बढ्न सकिँदैन।’

तर, परराष्ट्र मन्त्रालयले यसलाई सीमा व्यवस्थापनसँग सम्बन्धित प्राविधिक विषयका रूपमा व्याख्या गरेको छ।

विपक्षी दलहरूबीच सोमबार भएको संयुक्त बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिको निन्दा गरेको छ। केही दलहरूले सदनको रेकर्डबाट अभिव्यक्ति हटाउनुपर्ने मागसमेत गरेका छन् भने अन्यले त्यसलाई सुरक्षित राख्नुपर्ने धारणा राखेका छन्।

यसैबीच सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने यस विषयमा औपचारिक रूपमा मौन देखिएको छ।

सत्ता-विपक्षबीच बढ्दो दूरी

संसद् अवरुद्ध, सडक आन्दोलन र सीमा क्षेत्रमा देखिएको तनावबीच राजनीतिक संवाद झन् कमजोर बन्दै गएको देखिन्छ। विपक्षी दलहरूको एकीकृत मोर्चाले सरकारमाथि दबाब बढाइरहेको छ भने सरकार पक्ष आन्तरिक रूपमा दबाबमा परेको देखिन्छ।

विशेषगरी बजेट छलफल रोकिँदा प्रशासनिक कामसमेत प्रभावित भएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यदि संवादको बाटो नखुले स्थिति अझ जटिल बन्न सक्छ।

सुस्ता बचाउ अभियानका प्रतिनिधिहरूले यो घटनालाई सीमाक्षेत्रमा दीर्घकालीन समस्या समाधान नहुँदाको परिणाम बताएका छन्।

भारतमा रवि लामिछानेको राजनीतिक भेटघाट

नेपालमा राजनीतिक संकट चर्किरहेको बेला भारतमा रवि लामिछानेको भ्रमणले पनि ध्यान तानेको छ। उनी हाल औपचारिक भारत भ्रमणमा रहेका छन्, जहाँ उनले विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाट गरिरहेका छन्।

दिल्लीमा उनलाई भारतीय जनता पार्टी (भाजपा)का नेताहरूले स्वागत गरेका छन्। भेटघाटमा दलगत सम्बन्ध सुदृढीकरणदेखि क्षेत्रीय सहकार्यसम्मका विषयमा छलफल भएको बताइएको छ।

भ्रमण टोलीका अनुसार लामिछानेले भारतका विभिन्न राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम राखेका छन्। साथै भारतमा रहेका नेपाली समुदायसँग पनि संवाद गर्ने योजना रहेको जनाइएको छ।

प्रधानमन्त्री बालेनको माफी नआएसम्म सदन अवरोध जारी रहने अर्यालको चेतावनी

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भनेर प्रधानमन्त्री बालेनले अभिव्यक्ति दिएपछि राष्ट्रवादी र देशभक्ती नेपालीले चित्त दुखाएका छन् । भारतले नेपालले भारतीय भूमि मिचेको छ नभनेको बेला प्रधानमन्त्री बालेनले किन यसो भने होलान् ?

के आफ्नै दल रास्वपाका सभापति रवि लामिछाने भारत भ्रमणमा जानुअघि यस्तो अभिव्यक्ति दिएर भारतलाई खुसी पार्ने बालेन जुक्ति हो ? अनि, सभामुख डिपी अर्यालको भूमिकामाथि एमालेले किन प्रश्न गरिरहेको छ ?

सँगै आइतबार पारित भएको प्रतिनिधिसभा नियवमालीमा एमालेको आपत्ति किन ? यिनै सवालमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालसँग संवाद गरेका छौँ ।

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने प्रधानमन्त्री बालेनको अभिव्यक्तिलाई एमालेले किन गम्भीरतापूर्वक लिएको?

 प्रधानमन्त्री बालेन्द्र शाह एउटा व्यक्ति मात्र होइन, उहाँ राष्ट्रको कार्यकारी प्रमुख तथा प्रधानमन्त्रीको हैसियतमा संसदमा प्रस्तुत हुनुभएको हो। सार्वभौम संसदमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले दिएको अभिव्यक्ति राष्ट्रको आधिकारिक धारणा मानिन्छ।

हामी लामो समयदेखि प्रधानमन्त्री संसदमा आएर जवाफदेही हुनुपर्छ भनेर माग गरिरहेका थियौँ। कतिपय विषयमा कानुनी रूपमा पनि प्रधानमन्त्रीको उपस्थिती आवश्यक थियो। संसदप्रति उत्तरदायी हुनुपर्ने भएकाले उहाँको उपस्थितिको सुनिश्चितता गरियो। प्रधानमन्त्री आउनुभयो, हामीले स्वागत गर्‍यौँ, प्रश्न गर्‍यौँ।

तर प्रश्नको जवाफ दिने क्रममा उहाँले राष्ट्रिय स्वाभिमानमाथि आँच आउने खालको अभिव्यक्ति दिनुभयो। त्यो राष्ट्रको नीति होइन। प्रधानमन्त्रीले राष्ट्रको नीति बोल्नुपर्छ। उहाँले व्यक्त गर्नुभएको धारणा राष्ट्रको स्थापित नीति अन्तर्गत पर्दैन। त्यसैले हामीले आपत्ति जनाएका हौँ। यो राष्ट्रिय स्वाभिमानसँग जोडिएको गम्भीर विषय हो।

 राष्ट्रहितविपरीतको अभिव्यक्ति हो भन्ने आधार के हो?

राज्य सञ्चालन नीतिबाट नै त्यसको आधार तय हुन्छ। विशेष गरी परराष्ट्र नीतिले। छिमेकी मुलुक वा अन्य कुनै देशसँग सम्बन्धित विषयमा बोल्दा राष्ट्रको स्थापित परराष्ट्र नीतिका आधारमा बोल्नुपर्छ।

प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको असंलग्न परराष्ट्र नीतिको विश्वसनीयतामाथि प्रश्न उठाएको छ। राष्ट्रको नेतृत्व गर्ने व्यक्तिले अविश्वास होइन, विश्वास पैदा गर्नुपर्ने हो। तर उहाँको प्रस्तुतिले अन्तर्राष्ट्रिय रूपमा शंका उत्पन्न गर्‍यो।

 प्रधानमन्त्री बालेनको अभिव्यक्तिले कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका भूभागमाथि नेपालको दाबी कमजोर बनाएको हो?

 शतप्रतिशत कमजोर बनाएको छ। प्रधानमन्त्रीबाट अपेक्षा गरिएको कुरा भनेको नेपालको दाबीलाई अझ बलियो बनाउने थियो। उहाँसँग स्पष्ट बहुमतको सरकार छ। आफ्नो कार्यकालमा सीमा समस्या समाधान गर्ने प्रतिबद्धता आउनुपर्ने थियो।

तर उहाँले उल्टै ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिनुभयो। कुनै प्रसंगबिना यस्तो विषय उठाउनु राष्ट्रहितअनुकूल होइन।

 कतिपयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतलाई खुसी पार्न यस्तो अभिव्यक्ति आएको टिप्पणी गरेका छन्। तपाईंको धारणा के छ?

 म त्यसलाई शंकाको दृष्टिले हेर्छु। नेपालको भूमि मिचिएको विषय प्रधानमन्त्रीले नदेख्ने, तर खोजीखोजी ‘नेपालले पनि मिचेको छ’ भन्ने कुरा उठाउने, अनि त्यसको भोलिपल्ट पार्टी सभापतिको भारत भ्रमण हुने—यी घटनाहरूले प्रश्न उठाएका छन्। त्यसैले यसमा स्वाभाविक रूपमा आशंका उत्पन्न भएको छ।

अब प्रधानमन्त्रीबाट तपाईंहरूको अपेक्षा के हो?

प्रधानमन्त्रीले संसदमा आएर क्षमायाचना गर्नुपर्छ। उहाँले राष्ट्रिय स्वाभिमानमाथि आघात पुग्ने गम्भीर त्रुटि गर्नुभएको छ। गल्ती जहाँ भएको हो, त्यहीँबाट सच्याउनुपर्छ। फेसबुकमा लेखेर मात्र हुँदैन। संसदमा भएको गल्ती संसदमै स्वीकार गर्नुपर्छ।

यदि प्रधानमन्त्रीले क्षमा नमागे के हुन्छ?

 उहाँले क्षमा माग्नैपर्छ। हामीले प्रधानमन्त्री बालेन्द्र शाह व्यक्तिको रूपमा होइन, प्रधानमन्त्रीको हैसियतमा आलोचना गरेका हौँ। यस्तो अभिव्यक्तिले देशलाई कमजोर बनाउँछ। त्यसैले हामी यो विषयलाई हल्का रूपमा लिन सक्दैनौँ।

प्रधानमन्त्री क्षमायाचनाका लागि संसदमा नआउन्जेलसम्म तपाईंहरू सदन अवरोध गरिरहनुहुन्छ?

गर्छौँ। हाम्रो लागि देशभन्दा ठूलो विषय अरू केही छैन। अहिले बजेटमाथि छलफल चलाउने कुरा मात्र होइन। राष्ट्रहितसँग जोडिएको गम्भीर विषय उठेको छ। यस्तो विषयलाई बेवास्ता गरेर अगाडि बढ्न सकिँदैन।

हामी प्रधानमन्त्रीको व्यक्तिगत विरोधमा छैनौँ। प्रधानमन्त्रीको हैसियतबाट आएको अभिव्यक्तिले देशलाई कमजोर बनाएको छ। भविष्यमा गलत नजिर स्थापित नहोस् भन्ने हाम्रो चिन्ता हो। नेपालले आफ्नो भूमि भएको दाबी गरिरहेका विषयमा नैतिक र कूटनीतिक रूपमा पनि यसले क्षति पुर्‍याएको छ।

यदि भारतले प्रधानमन्त्रीको अभिव्यक्तिलाई आधार बनाएर ‘नेपालले मिचेको भूमि फिर्ता गर’ भन्यो भने के हुन्छ?

प्रधानमन्त्रीले संसदमा ‘गिभ एन्ड टेक’ को कुरा गर्नुभयो। नेपालले पनि भूमि मिचेको छ भन्नुभयो। सीमा समस्याको समाधानमा तेस्रो पक्षको भूमिका उल्लेख गर्नुभयो। यी सबै विषय गम्भीर छन्।

नेपाल-भारत सीमा समस्या दुई देशबीचको विषय हो। यसमा बेलायत वा अन्य तेस्रो पक्षलाई जोड्नुपर्ने आवश्यकता छैन। त्यसैले उहाँको अभिव्यक्तिमा धेरै प्रश्नहरू उठेका छन्।

नेपाल-भारत सीमा समस्यामा बेलायतलाई तान्नुको पछाडि कुनै विशेष कारण देख्नुहुन्छ?

 त्यो पनि प्रश्नको विषय हो। सीमा विवाद नेपाल र भारतबीचको विषय हो। सरोकार नभएको पक्षलाई किन जोड्न खोजियो भन्ने स्पष्ट हुनुपर्छ। अन्य विषयमा सहकार्य हुन सक्छ, तर सीमा समस्यामा तेस्रो पक्षको भूमिका आवश्यक छैन।

प्रतिनिधिसभा नियमावली, २०८३ मा एमालेको मुख्य आपत्ति के हो?

यसमा खासगरी केही प्रावधानहरूमा हाम्रो असहमति छ। नियमावलीले संसदको भूमिका, प्रतिपक्षको अधिकार र संसदीय अभ्यासलाई कमजोर बनाउने गरी कुनै व्यवस्था हुनु हुँदैन भन्ने हाम्रो धारणा हो।

प्रतिनिधिसभा नियमावली बहुमतले पारित भइसकेपछि अब के गर्नुहुन्छ ? खारेज गर्न त सकिँदैन नि ?

खारेज गर्न त अब सकिँदैन । प्रतिनिधिसभाले बहुमतबाट पारित गरिसकेको विषय हो । तर एउटा कुरा के हो भने, एकपटक पाएको अवसर सधैंका लागि हो भन्ने कसैले ठान्नु हुँदैन । राजनीति र जनमत स्थायी हुँदैन । हाम्रो इतिहासले पनि यही देखाएको छ । कुनै बेला दुईतिहाइ बहुमत भएका दलहरू पनि पछि कमजोर भएका उदाहरण छन् । त्यसैले बहुमतको दम्भ देखाएर मुलुकलाई कलंकित गर्ने, प्रणाली बिगार्ने वा कानुनको मर्म र भावनामाथि खेलबाड गर्ने काम कसैको हितमा हुँदैन ।

मुद्दा लाग्दैमा सांसद निलम्बन गर्ने व्यवस्था भयो भने राजनीतिक प्रतिशोधका मुद्दा पनि आउन सक्छन् नि ?

त्यस्तो सम्भावनालाई कानुनी रूपमा व्यवस्थापन गर्न सकिन्छ । छलफल र समझदारीबाट निर्दोष मानिस अन्यायमा नपर्ने व्यवस्था गर्न सकिन्छ । हाम्रो उद्देश्य कसैलाई अन्याय गर्नु होइन । तर दोषीलाई उन्मुक्ति दिने व्यवस्था पनि हुनु हुँदैन । दोषीले सजाय पाउनुपर्छ र निर्दोषले न्याय पाउनुपर्छ । त्यसका लागि न्यायालय पनि छ ।

नियमावलीको नियम २५८ अन्तर्गत ‘बाधा अड्काउ फुकाउने अधिकार’ सम्बन्धी व्यवस्थामा एमालेको आपत्ति किन छ ?

यदि राजनीति स्वस्थ ढंगले चलिरहेको भए त्यस्तो व्यवस्था आवश्यक नपर्थ्यो । बाधा अड्काउ फुकाउने नाममा अतिरिक्त अधिकार किन चाहियो भन्ने प्रश्न उठ्छ । हामीलाई लाग्छ, कतै भविष्यमा प्रतिशोध वा विशेष उद्देश्यका लागि प्रयोग गर्ने मनसायले यस्तो व्यवस्था राखिएको त होइन ? संसद् सञ्चालन पारदर्शी ढंगले हुनुपर्छ । सबै कुरा खुला छलफलबाट टुंग्याउनुपर्छ ।

अहिलेको सभामुखको भूमिकालाई विपक्षी दलको दृष्टिकोणबाट कसरी हेर्नुहुन्छ ?

सभामुख बन्दै गर्दा उहाँलाई सरल, समन्वयकारी, सन्तुलित र सहनशील व्यक्तित्वका रूपमा लिएको थिएँ । तर अहिले संसद्मा देखिएको व्यवहार अलि फरक देखिन्छ । बोली मिठो भए पनि व्यवहार र शैलीमा आक्रामकता झल्किने गरेको अनुभव हुन्छ ।

तपाईंले भन्न खोज्नुभएको सभामुखले उग्रता प्रदर्शन गरिरहनुभएको छ ?

म ‘उग्रता’ भन्दा ‘आक्रामकता’ भन्न चाहन्छु । सभामुखको भूमिकामा अपेक्षित सन्तुलनभन्दा केही बढी आक्रामक शैली देखिएको छ भन्ने मेरो बुझाइ हो ।

सभामुखले विपक्षीलाई पेलेरै जाने रणनीति लिइरहनुभएको छ भन्ने लाग्छ ?

हामीलाई पेलेर सभामुख सफल हुन सक्नुहुन्न । सभामुख सबै दलका अभिभावक हुन् । उहाँको सफलता भनेको संसद्को सफलता हो । हामी उहाँलाई सफल बनाउन चाहन्छौं । संसद् सञ्चालनका लागि विगतका सभामुखहरूले बनाएको राम्रो परम्पराबाट सिक्न सकिन्छ ।

नेविसंघ अध्यक्षमा करूणा कटुवाल

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा करूणा कटुवाल नियुक्त भएकी छन्।

कांग्रेस सभापति गगन थापाले सोमबार धनकुटाकी कटुवाललाई नेविसंघको अध्यक्षमा नियुक्त गरेका हुन्।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१ गतेको निर्णयअनुसार सभापति थापाले पार्टी विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको नेविसंघको अध्यक्षमा कटुवाललाई जिम्मेवारी दिएका हुन्।

कांग्रेसका अनुसार कटुवाललाई निर्धारित समयभित्र नेविसंघको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित ११ बुँदे कार्यादेश प्रदान गरिएको छ।

कटुवाल यसअघि नेविसंघकी केन्द्रीय सदस्य तथा कांग्रेस महाधिवेशन प्रतिनिधिका रूपमा सक्रिय थिइन्। उनी नेविसंघको इतिहासमा अध्यक्ष बन्ने पहिलो महिला पनि हुन्।

लामो समयदेखि नेविसंघ तदर्थ समितिको भरमा सञ्चालन हुँदै आएको थियो। यसअघि तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेका थिए।

निर्धारित समयमा महाधिवेशन सम्पन्न गर्न नसकेपछि कांग्रेसले पाँच भ्रातृ संस्थालाई स्वतः विघटन गरेको थियो। तीमध्ये नेपाल महिला संघ, तरुण दल र नेविसंघमा नयाँ नेतृत्व चयन भइसकेको छ।

पक्राउ परेका नेविसंघका नेताहरूलाई तत्काल रिहा गर्न कांग्रेसको माग

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार संसद्मा दिएको नेपाल–भारत सीमा समस्यासम्बन्धी अभिव्यक्तिको विरोधमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थी नेताहरूलाई तत्काल रिहा गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषयमा प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाट व्यक्त गरेको धारणा विरुद्ध सिंहदरबारको दक्षिण गेटमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका नेविसंघका नेता आदित्य दास, राजकुमार बस्नेत, अर्जुन कार्की, दिनेश कार्की, मोहन कालाथोकी र गौरव पाण्डेलाई प्रहरीले पक्राउ गरेको उल्लेख गरिएको छ।

कांग्रेसले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारमाथि हस्तक्षेप गर्दै विद्यार्थी नेताहरूलाई पक्राउ गर्नु निन्दनीय भएको जनाएको छ।

विज्ञप्तिमा लोकतान्त्रिक मूल्य, नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गर्दै पक्राउ परेका विद्यार्थी नेताहरूलाई अविलम्ब रिहा गर्न माग गरिएको छ।

कांग्रेसले लोकतान्त्रिक व्यवस्थामा शान्तिपूर्ण विरोधलाई दमन गर्ने कार्य स्वीकार्य नहुने भन्दै सरकारलाई संविधान र कानुनले सुनिश्चित गरेका नागरिक अधिकारको सम्मान गर्न समेत आग्रह गरेको छ।

सशस्त्र प्रहरीका जवानसहित महाकालीमा दुई जना मृत फेला

धनगढी । डडेलधुरामा शुक्रबारदेखि बेपत्ता रहेका सशस्त्र प्रहरीका एक जवानसहित दुई जना मृत अवस्थामा फेला परेका छन्।

सशस्त्र प्रहरी बलको बीओपी परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगर र परशुराम नगरपालिका–५ का स्थानीय तीर्थबहादुर थापा मगरको शव सोमबार बिहान फेला परेको प्रहरीले जनाएको छ।

डडेलधुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहका अनुसार दुवै जनाको शव महाकाली नदीमा भेटिएको हो।

उनका अनुसार तीर्थबहादुर थापा मगरको शव परशुराम नगरपालिका–५ स्थित महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा फेला परेको छ। यस्तै, सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेव क्षेत्र नजिक भारततर्फको महाकाली नदी किनारमा भेटिएको डीएसपी सिंहले जानकारी दिए।

दुवै जना शुक्रबारदेखि सम्पर्कविहीन रहेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पूर्वसभामुख महरालाई १ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । भ्रष्टाचार मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महरालाई विशेष अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य विदुर कोइरालाको इजलासले महरालाई धरौटीमा छाड्न आदेश दिएको हो।

विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महराविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

यसअघि सोही प्रकरणमा कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले पनि धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

विपक्षीले अडान नछाडेपछि संसद बैठक मंगलबारसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)को विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर अवरोध जारी राखेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक स्थगित गरेका हुन्।

विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्मा दिएको ‘नेपालले पनि भारतीय भूमि मिचेको’ भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने, संसद्को रेकर्डबाट हटाउनुपर्ने तथा माफी माग्नुपर्ने माग गर्दै विरोध जनाइरहेका छन्।

सो विषयमा सभामुखबाट रुलिङ हुनुपर्ने अडानसमेत उनीहरूको छ।

सदन सञ्चालनका लागि पटक-पटक आग्रह गर्दा पनि विपक्षी सांसदहरू आफ्नो अडानबाट पछि नहटेपछि सभामुख अर्यालले बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन्।

विपक्षीले छाडेनन् अडान

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले पुनः अवरोध गरे ।

१५ मिनेटका लागि स्थगित गरिएको बैठक पुनः सुरु भएलगत्तै विपक्षी सांसदहरू उठेर विरोधमा उत्रिएका हुन्।

प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतीय सीमा मिचेको’ भन्ने अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू आक्रोशित बनेका छन्।

उनीहरूले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने तथा प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग दोहोर्‍याएका छन्।

सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई आफ्नो आसनमा बसेर सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि विपक्षी दलका सांसदहरूले विरोध जारी राखेका छन्।

प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्ट जवाफ नआएसम्म संसद् चल्न नदिने अडान विपक्षी दलहरूले लिएका छन्।

प्रधानमन्त्री बालेनको अभिव्यक्तिविरुद्ध सिंहदरबारमा नेविसंघको प्रदर्शन, ६ कार्यकर्ता पक्राउ

काठमाडौं।  प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतीय भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिएको विषयलाई लिएर नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सिंहदरबारको मुख्य गेटअघि प्रदर्शन गरेको छ।

प्रधानमन्त्रीको उक्त भनाइलाई गैरजिम्मेवार र राष्ट्रिय हितविपरीत भएको आरोप लगाउँदै नेविसंघका कार्यकर्ताले नाराबाजी गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्रीसँग सार्वजनिक रूपमा स्पष्टिकरण र अभिव्यक्ति फिर्ता लिन माग गरेका थिए।

प्रहरीले प्रदर्शनका क्रममा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाखेती र गौरव पाण्डेलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका सबैलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा राखिएको प्रहरीले जनाएको छ।

प्रधानमन्त्री शाहको संसदमा व्यक्त उक्त भनाइलाई लिएर राजनीतिक दल, सांसद तथा विभिन्न संगठनहरूले लगातार विरोध जनाइरहेका छन्। सोही विषयलाई लिएर प्रतिनिधिसभा बैठकसमेत प्रभावित बन्दै आएको छ।

स्वर्णिम बजेट आएपछि ओरालो लाग्यो नेप्से

काठमाडौं। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि सेयर बजारमा सकारात्मक माहोल बन्ने अपेक्षा गरिए पनि साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा उल्लेख्य गिरावट देखिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सोमबार नेप्से परिसूचक २६.७२ अङ्क अर्थात् ०.९६ प्रतिशतले घटेर २ हजार ७५५.३७ विन्दुमा झरेको छ। यस्तै, ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.७८ अङ्कले घट्दै ४७०.७२ विन्दुमा सीमित भएको छ।

आज कुल ३४९ कम्पनीका १ करोड ३३ लाख ८३ हजार ८१६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार ९२८ रुपैयाँ पुगेको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी सबैभन्दा अगाडि रह्यो। त्यसपछि नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स, रिडी पावर कम्पनी र नेशनल हाइड्रोपावर कम्पनी उच्च कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।

बजार समग्र रूपमा घटे पनि केही कम्पनीका लगानीकर्ताले भने नाफा कमाएका छन्। नेपाल पुनर्बीमा कम्पनी, कालिञ्चोक हाइड्रोपावर, सेन्ट्रल फाइनान्स लगायतका कम्पनी तथा केही डिबेञ्चरका लगानीकर्ताले सकारात्मक प्रतिफल प्राप्त गरेका छन्।

यता बुङ्गल हाइड्रोपावर, क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स, विशाल बजार कम्पनी, नेपाल रिपब्लिक मिडिया लगायतका कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरेका छन्।

आज कारोबार भएका १३ उपसमूहमध्ये केवल दुई उपसमूहको सूचक बढेको छ भने बाँकी ११ उपसमूह राताम्मे बनेका छन्। यसले बजेटपछि पनि लगानीकर्ताको मनोबल पूर्ण रूपमा फर्किन नसकेको संकेत गरेको छ।

ग्याङ्ग बनाएर धम्की दिने २५ युवा पक्राउ

काठमाडौं। सामाजिक सञ्जालमार्फत विभिन्न ग्याङ्ग तथा समूहको नाम प्रयोग गर्दै समाजमा त्रास फैलाउने गतिविधिमा संलग्न २५ जना युवालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार ‘किङ अफ बालान’, ‘किङ अफ भगवानपुर’, ‘किङ अफ लहान’ र ‘किलर्स ब्रदर’ लगायत नामका समूह सञ्चालन गर्दै टिकटक, फेसबुक तथा अन्य सामाजिक सञ्जालमा धम्कीपूर्ण, अपशब्दयुक्त र उक्साहटपूर्ण सामग्री पोस्ट गर्ने कार्य भइरहेको थियो।

यस्ता समूहमा आबद्ध युवाहरूले ट्राफिक नियमको समेत व्यापक उल्लङ्घन गर्दै बिना हेल्मेट, बिना नम्बर प्लेट र आवश्यक कागजपत्रबिनै मोटरसाइकल चलाउने गरेका थिए।

कतिपय मोटरसाइकलमा तीनदेखि चार जनासम्म सवार भई सार्वजनिक सडकमा होहल्ला गर्ने र सामाजिक अशान्ति फैलाउने गतिविधि गरेको प्रहरीले जनाएको छ।

सिरहा-चोहर्वा सडकखण्डमा प्रहरीले गरेको नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकामध्ये १२ जना सप्तरीको बलान बिहुल गाउँपालिकाका, २ जना सिरहाको लहान नगरपालिकाका, ६ जना विष्णुपुर गाउँपालिकाका र ५ जना भगवानपुर गाउँपालिकाका रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट २१ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबैलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जालमार्फत ग्याङ्ग संस्कृति फैलाउने, धम्की दिने तथा सार्वजनिक शान्ति भङ्ग गर्ने गतिविधिप्रति निगरानी बढाइएको भन्दै प्रहरीले यस्ता कार्यमा संलग्न नहुन युवाहरूलाई आग्रह गरेको छ।

जिदानका छोरा लुका अल्जेरियाको विश्वकप टोलीमा

एजेन्सी। फ्रान्सेली फुटबलका महान खेलाडी जिनेदिन जिदान का छोरा लुका जिदान फिफा विश्वकप २०२६ का लागि घोषित अल्जेरियाको राष्ट्रिय टोलीमा परेका छन्।

फ्रान्सको यू–२० टोलीबाट खेलिसकेका २८ वर्षीय गोलरक्षक लुकाले आफ्नो पारिवारिक सम्बन्ध रहेको अल्जेरियाबाट अन्तर्राष्ट्रिय करिअर अघि बढाउने निर्णय गरेका हुन्। उनका हजुरबुबा–हजुरआमाको जन्म अल्जेरियामा भएको थियो।

लुका यसअघि अफ्रिका कप अफ नेसन्समा अल्जेरियाका पहिलो रोजाइका गोलरक्षक थिए। उनी गत अप्रिलमा ग्रनाडा सीएफ बाट खेल्ने क्रममा गम्भीर चोटग्रस्त बनेका थिए। चोटका कारण उनको बङ्गारा र चिउँडोमा क्षति पुगेको थियो।

उनका पिता जिनेदिन जिदान विश्व फुटबल इतिहासका सर्वकालीन महान खेलाडीमध्ये एक मानिन्छन्। उनले फिफा विश्वकप १९९८ को फाइनलमा दुई गोल गर्दै फ्रान्सलाई विश्वविजेता बनाएका थिए। त्यस्तै फिफा विश्वकप २००६ को फाइनलमा गोल गरे पनि रातो कार्ड पाएर मैदान छाडेका थिए।

अल्जेरियाका मुख्य प्रशिक्षक भ्लादिमिर पेटकोभिक ले घोषणा गरेको टोलीमा अनुभवी फरवार्ड रियाद महरेज पनि समावेश छन्। पूर्व म्यानचेस्टर सिटी स्टार महरेज हाल अल अहली बाट खेलिरहेका छन्।

यसैगरी, नबिल बेन्तालेब सात महिनापछि राष्ट्रिय टोलीमा फर्किएका छन्। पूर्व टोटेनहम हट्सपर मिडफिल्डर बेन्तालेब हाल लिल ओएससीमा आबद्ध छन्। उनले फिफा विश्वकप २०१४ मा अल्जेरियाको प्रतिनिधित्व गरेका थिए।

चोटका कारण पछिल्लो अफ्रिका कप अफ नेसन्स गुमाएका हुसेम अउआर ले पनि टोलीमा पुनरागमन गरेका छन्।

विश्वकप २०२६ मा अल्जेरिया समूह ‘जे’ मा परेको छ। उक्त समूहमा अल्जेरियाले साविक विश्वविजेता अर्जेन्टिना सहित अस्ट्रिया र जोर्डन सँग प्रतिस्पर्धा गर्नेछ।

कठिन समूहमा परे पनि अनुभवी र युवा खेलाडीको संयोजनले अल्जेरियाले यसपटक उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।