`

 १६९ जना पक्राउ

धनगढी । कैलाली प्रहरीले सञ्चालन गरेको स्वीप अपरेशनमा तीन दिनको अवधिमा १६९ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटहरूले बुधबारदेखि शुक्रबारसम्म विभिन्न कसुरमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार अपरेशनका क्रममा लागुऔषध सेवन गर्ने ३९ जना र लागुऔषधसहित २३ जना पक्राउ परेका छन्।

प्रहरीले उनीहरूको साथबाट १७ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर, १ ग्राम ३०० मिलिग्राम चरेश, १७७ ट्याब्लेट नाइट्राजेपाम, २०० थान ट्रामाडोल र १७ ग्राम गाँजा बरामद गरेको जनाएको छ।

त्यस्तै अदालतबाट सजाय तोकिएर फरार रहेका १० जना प्रतिवादी र चोरीमा संलग्न ४ जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। लागुऔषधसहित पक्राउ परेकामाथि मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये ९३ जनालाई सम्झाइबुझाइ गरेर छाडिएको छ।

गर्मीमा सफ्ट ड्रिंक पिउनुहुन्छ ? साबधान!!!

काठमाडौं। गर्मी मौसम सुरु हुनेबित्तिकै बजारमा कोक, फ्यान्टा, स्प्राइट, पेप्सी जस्ता कार्बोनेटेड पेय पदार्थहरूको माग र प्रयोग अत्यधिक हुने गर्छ। 

बढ्दो तापक्रम, चर्को घाम र तिर्खाका कारण धेरै मानिसहरूले यस्ता चिसा पेय पदार्थ रोज्ने गर्छन् । साना किराना पसलदेखि ठूला होटल तथा रेस्टुरेन्टसम्म यी पेय पदार्थ सहजै उपलब्ध हुने भएकाले यसको प्रयोग दिनप्रतिदिन बढिरहेको देखिन्छ ।

स्वादिलो, गुलियो र पिउँदा तुरुन्तै शीतलता दिने भएकाले सफ्ट ड्रिंक विशेष गरी युवा र बालबालिका मात्रै हैन प्रौढबीच पनि अत्यन्त लोकप्रिय बनेको छ । तर यस्ता पेय पदार्थ नियमित रूपमा सेवन गर्नु स्वास्थ्यका लागि कत्तिको सुरक्षित हो भन्ने प्रश्न भने अझै पनि महत्वपूर्ण रूपमा उठिरहन्छ ।

कार्बोनेटेड पेय पदार्थ भन्नाले कार्बन डाइअक्साइड ग्यास मिसाएर बनाइएका पेयलाई बुझिन्छ, जसमा साना बबलहरू देखिन्छन् र पिउँदा चिसोपन र ताजगीको अनुभव हुन्छ । यस्ता पेयमा सामान्यतया चिनी, स्वाद दिने पदार्थ, रंग, क्याफिन तथा कहिलेकाहीँ एसिडिक तत्वहरू पनि मिसाइएको हुन्छ । बोतल वा क्यानमा बजारमा पाइने यी पेय पदार्थहरू आकर्षक विज्ञापन, सहज उपलब्धता र स्वादका कारण धेरै लोकप्रिय बनेका छन् ।

यस्ता पेय पदार्थको अत्यधिक सेवनले दाँतको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । यसमा रहेको चिनी र एसिडले दाँतको बाहिरी तह कमजोर बनाउँदै बिस्तारै क्षति पुर्‍याउन सक्छ । मुखमा रहेका ब्याक्टेरियाले चिनीलाई प्रयोग गरी एसिड उत्पादन गर्दा दाँतको इनामेल कमजोर हुन्छ र समयसँगै दाँत कुहिने समस्या देखिन सक्छ । लामो समयसम्म यस्ता पेय पदार्थ धेरै सेवन गर्दा दाँतको गहिरो भागसम्म पनि असर पुग्न सक्छ ।

त्यस्तै, यस्ता पेय पदार्थको अत्यधिक प्रयोगले शरीरमा मोटोपना बढाउने र मधुमेहको जोखिम पनि वृद्धि गर्ने सम्भावना हुन्छ । यिनमा चिनीको मात्रा धेरै हुने भएकाले शरीरमा अतिरिक्त क्यालोरी जम्मा हुन्छ, जसले बोसो बढाउँछ र तौल असन्तुलन हुन सक्छ । लामो समयसम्म नियमित रूपमा यस्ता पेय पदार्थ सेवन गर्ने व्यक्तिमा टाइप–२ मधुमेहको सम्भावना पनि बढ्न सक्ने विभिन्न अध्ययनहरूले देखाएका छन् ।

हड्डीको स्वास्थ्यमा पनि यसको नकारात्मक प्रभाव पर्न सक्छ । यस्ता पेयमा रहेको फस्फोरिक एसिडले शरीरमा क्याल्सियमको अवशोषण घटाउन सक्छ, जुन हड्डी मजबुत राख्न अत्यावश्यक तत्व हो । क्याल्सियमको कमी हुँदा हड्डी कमजोर हुने, पातलो हुने वा सजिलै भाँचिने जोखिम बढ्न सक्छ । यस्ता पेय धेरै पिउने बानी भएका मानिसले पोषणयुक्त पेय पदार्थ कम सेवन गर्दा पनि हड्डी सम्बन्धी समस्या बढ्न सक्छ ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार सफ्ट ड्रिंकको सेवन सकेसम्म सीमित गर्नुपर्छ । तिर्खा लाग्दा पानीलाई पहिलो विकल्प बनाउनुपर्छ र दूध, प्राकृतिक जुस जस्ता स्वस्थ पेय पदार्थलाई प्राथमिकता दिनु उपयुक्त हुन्छ । नियमित रूपमा दाँत सफा गर्ने, एसिडयुक्त पेय पदार्थ पिएपछि मुख कुल्ला गर्ने जस्ता बानीले पनि स्वास्थ्य जोगाउन मद्दत गर्छ ।

समग्रमा कहिलेकाहीँ सीमित मात्रामा यस्ता पेय पदार्थ सेवन गर्नु ठूलो समस्या नहुन सक्छ।  तर यसलाई दैनिक बानी बनाउनु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । दीर्घकालीन रूपमा स्वस्थ रहनका लागि प्राकृतिक र पोषणयुक्त पेय पदार्थ रोज्नु नै सबैभन्दा राम्रो विकल्प हो ।

प्रविण पन्दाकलाई नेप्सेले किन बोलायो फिर्ता ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) की सञ्चालक प्रविण पन्दाकलाई सञ्चालक पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ। नेप्से सञ्चालक समितिको वैशाख ११ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।

निर्णयपछि नेप्सेले सिडिएससीलाई औपचारिक पत्रसमेत पठाइसकेको जनाएको छ। नेप्सेको तर्फबाट सिडिएससीमा प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईं अध्यक्षका रूपमा रहेका छन् भने पन्दाक सञ्चालकका रूपमा कार्यरत थिइन्।

तर, पन्दाक २०८१ पुसमा नै सिडिएससीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा चार वर्षका लागि नियुक्त भइसकेकी छन्। यही दोहोरो भूमिकाले संस्थाभित्र विवाद उत्पन्न भएको बताइएको छ।

विशेषगरी संस्थापक र सर्वसाधारण सेयरका लागि फरक–फरक अन्तर्राष्ट्रिय सेक्युरिटिज आइडेन्टिफिकेशन नम्बर (आईएसआईएन) लागू गर्ने विषयमा नेप्से र सिडिएससीबीच मतभेद बढेको थियो। पन्दाकले उक्त व्यवस्था अघि बढाउँदै धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका नेपाल धितोपत्र बोर्डमा पेश गरेकी थिइन्, तर हालसम्म स्वीकृति प्राप्त भएको छैन।

दुई फरक आईएसआईएन सम्बन्धी नीतिगत असहमति नै उनलाई फिर्ता बोलाउने प्रमुख कारण हुनसक्ने जानकारहरूको अनुमान छ।

यसबीच, नेप्सेको निर्णयपत्र बुझ्न अस्वीकार गरेकी पन्दाकले उक्त निर्णयलाई अनुचित भन्दै कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएकी छन्। निर्णयसँगै सिडिएससीको नेतृत्व र नीतिगत दिशाबारे थप अन्योल देखिएको छ।

स्वास्थ्य मन्त्रालयमा उच्च अधिकारीको हेरफेर : प्रवक्तामा यसोदा अर्याल नियुक्त

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहका एघारौँ तहका अधिकृतहरूको सरुवा तथा काज फिर्ता गर्दै विभिन्न महाशाखा र विभागमा जिम्मेवारी हेरफेर गरेको छ।

स्वास्थ्य मन्त्री निशा मेहता ले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालय, विभाग तथा केन्द्रका केही महाशाखा प्रमुखहरूको जिम्मेवारी पुनः निर्धारण गरेकी हुन्।

मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख दिवश आचार्य का अनुसार रिक्त रहेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा डा. अनुज भट्टचन लाई जिम्मेवारी दिइएको छ। त्यसको स्थानमा डा. चुमनलाल दास लाई पठाइएको छ।

त्यस्तै, परिवार कल्याण महाशाखाका प्रमुख डा. मदन उपाध्याय लाई नारायणी अस्पतालमा सरुवा गरिएको छ।

मन्त्रालयअन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (एचईओसी) का प्रमुख तथा प्रवक्ता डा. प्रकाश बुढाथोकी लाई वीर अस्पतालमा काज फिर्ता गरिएको छ। अब मन्त्रालयको प्रवक्ताको जिम्मेवारी समन्वय महाशाखा प्रमुख यशोदा अर्याल ले सम्हाल्ने भएकी छन्।

यसैबीच, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा डा. प्रकाशप्रसाद साह लाई जिम्मेवारी दिइएको छ भने नीति योजना महाशाखामा कार्यरत डा. पुष्पराज पौडेल लाई नरदेवी अस्पतालमा काज फिर्ता गरिएको मन्त्रालयले जनाएको छ।

आईसीसी लिग-२ मा नेपालले दियो यूएईलाई २०१ रनको लक्ष्य

काठमाडौं। आईसीसी लिग(२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले यूएईलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २०१ रन बनाएको हो।

नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ७५ रनको महत्वपूर्ण इनिङ खेले।

त्यस्तै, ओपनिङमा आएका आशिफ शेख ७ रनमा र कुशल भुर्तेल २४ रनमा आउट भए। भीम सार्कीले १० रन, कप्तान रोहित कुमार पौडेलले २ रन, बसिर अहमदले २० रन बनाए। आरिफ शेख र सोमपाल कामीले समान १५–१५ रन जोडे।

करण केसीले २२ रनको योगदान दिए भने सन्दीप लामिछाने २ रनमा आउट भए। ललित राजवंशी शून्य रनमा अविजित रहे।

डोजर चलेपछि आकाशबाट यस्तो देखियो सुकुमबासी बस्ती (तस्बिरहहरू)

काठमाडौं। काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्तीमा आज बिहान डोजर चलाइएको छ।

शनिबार बिहान साढे ८ बजेदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गर्दै बस्ती हटाउने अभियान सुरु गरिएको हो।

 

‘जवान २’ छिट्टै आउँदै,तयारी पुरा

काठमाडौं। बलिउडका ‘किङ खान’ शाहरुख खानले आफ्नो ब्लकबस्टर फिल्म ‘जवान’ को दोस्रो शृङ्खला ‘जवान २’ निर्माण गर्ने तयारी थालेका छन्। फिल्म ‘किङ’ को सुटिङ सकिएपछि उनी यस प्रोजेक्टमा पूर्ण रूपमा केन्द्रित हुने बताइएको छ।

पछिल्लो केही महिनादेखि गोप्य रूपमा लेखिँदै आएको ‘जवान २’ को स्क्रिप्ट हाल अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ।

पहिलो भागमा शक्तिशाली भिलेनको भूमिका निर्वाह गरेका विजय सेतुपति लाई दर्शकले निकै रुचाएका थिए। त्यसैले यसपटक पनि निर्माण टिमले कुनै चर्चित दक्षिण भारतीय सुपरस्टारलाई भिलेनका रूपमा ल्याउने योजना बनाएको छ।

फिल्मका निर्देशक एट्ली कुमार ले ‘जवान’ मार्फत हिन्दी सिनेमामा ठूलो सफलता हासिल गरेका थिए। उनकै निर्देशनमा बन्न लागेको ‘जवान २’ लाई पहिलेभन्दा अझ भव्य र ठूलो स्केलमा निर्माण गर्ने तयारी भइरहेको छ।

निर्माण पक्षका अनुसार स्क्रिप्टको आवश्यकताअनुसार कास्टिङमा ठूला घोषणा चाँडै हुने सम्भावना छ। फिल्मको छायांकन आगामी वर्ष सुरु हुने अपेक्षा गरिएको छ।

सन् २०२३ मा रिलिज भएको ‘जवान’ ले विश्वभर करिब ११०० करोड रुपैयाँभन्दा बढीको कलेक्सन गर्दै बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरेको थियो। फिल्ममा नयनतारा र विजय सेतुपति प्रमुख भूमिकामा थिए भने दीपिका पादुकोण विशेष भूमिकामा देखिएकी थिइन्।

‘जवान २’ को खबर सार्वजनिक भएसँगै शाहरुखका प्रशंसकहरूमा उत्साह बढेको छ।

गाजामा इजरायली आक्रमण तीव्र, १३ जनाको मृत्यु

एजेन्सी। प्यालेस्टिनी क्षेत्र गाजामा प्रहरीलाई लक्षित गरी भएको इजरायली आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको गाजाको नागरिक रक्षा एजेन्सीले जनाएको छ।

अक्टोबरमा भएको युद्धविरामको बाबजुद पनि इजरायली आक्रमण जारी रहँदा गाजामा दैनिक हिंसात्मक अवस्था कायमै रहेको छ। इजरायली सेना र हमास दुवैले एक–अर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाइरहेका छन्।

खान युनिसको अल-मवासी क्षेत्रमा भएको हवाई आक्रमणमा एक बालकसहित आठ जनाको मृत्यु भएको र धेरै जना घाइते भएको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ।

त्यस्तै, उत्तरी गाजाको बेत लाहियास्थित कमल अदवान अस्पताल नजिकको आवासीय घरमा भएको आक्रमणमा आमा र दुई बालबालिकासहित तीन जनाको ज्यान गएको बताइएको छ।

गाजा सहरमा प्रहरी गस्ती लक्षित आक्रमण हुँदा दुई प्रहरी अधिकारीको मृत्यु भएको र दुई जना घाइते भएको उल्लेख छ।

अल-सिफा र नासेर अस्पतालले मृतकहरूको नाम सार्वजनिक गर्दै पछिल्लो आक्रमणको पुष्टि गरेका छन्।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम सुरु भएयता कम्तीमा ७९२ प्यालेस्टिनीको मृत्यु भइसकेको छ।

यसैबीच, इजरायली सेनाले पनि युद्धविरामपछि गाजामा पाँच सैनिक मारिएको जनाएको छ।

थापाथली सुकुम्बासी बस्ती खाली : १५ परिवार मात्र दशरथ रंगशालाको होल्डिङ सेन्टरमा

काठमाडौं। सरकारले काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराएपछि त्यहाँका प्रभावितमध्ये हालसम्म १५ परिवारलाई दशरथ रंगशालास्थित अस्थायी ‘होल्डिङ सेन्टर’मा सारिएको छ।

उक्त स्थानमा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न एकीकृत बागमती सभ्यता विकास परियोजनाले छुट्टाछुट्टै रूपमा परिवारहरूको विवरण संकलन तथा अभिलेखिकरण गरिरहेका छन्। उनीहरूको बसोबास र खानपानको व्यवस्थापन काठमाडौँ महानगरपालिकाले गरिरहेको छ।

सहरी विकास मन्त्रालयकी उपसचिव कविता केसी बोगटीका अनुसार पहिले सबै परिवारको लगत संकलन गरी उनीहरूको देशभर कुनै जग्गा–जमिन छ कि छैन भन्ने यकिन गरिनेछ। त्यसपछि वैकल्पिक पुनःस्थापनाको व्यवस्था गरिने उनले जानकारी दिइन्। त्यतिन्जेलसम्म उनीहरूको बसोबास र खानपानको व्यवस्था रंगशालामै गरिनेछ।

होल्डिङ सेन्टरमा हाल रौतहटका मनीषा यादव र उनका दुई बालबालिका सहित विभिन्न जिल्लाका १५ परिवार रहेका छन्। उनीहरूमा दिनेश चेपाङ, इन्द्रबहादुर गुरुङ, बबिता बुढाथोकी, कृष्णबहादुर तामाङ, साउन्चा पोडे, अम्बिका दर्जी, पनिता थापा मगर, शिवकुमार चौधरी, कमल खपाङ्गी, मानबहादुर थिङ, गायत्रीमाया श्रेष्ठ, विनोद तामाङ, पुष्पा कसाई र रवानी अंसारीका परिवार समावेश छन्।

यीमध्ये केही परिवारलाई आवश्यक प्रक्रिया पूरा गर्नका लागि अस्थायी रूपमा होल्डिङ सेन्टरमा नै राखिएको जनाइएको छ।

यसैबीच, थापाथली बस्ती खाली गरिएसँगै डोजर र एक्स्काभेटर परिचालन गरी झुपडी तथा अन्य संरचना भत्काउने कार्य तीव्र बनाइएको छ। हालसम्म करिब ७० प्रतिशत संरचना भत्काइसकिएको काठमाडौँ महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिएका छन्।

सरकारले विस्थापित परिवारका लागि नागार्जुन, कीर्तिपुर, भक्तपुरको बोडे, खरीपाटी र चाँदबाग लगायतका स्थानमा अस्थायी होल्डिङ सेन्टरको व्यवस्था गरेको छ।

युद्धविरामबीच आक्रमण जारी : दक्षिणी लेबनानमा ६ जनाको मृत्यु

एजेन्सी। इजरायल र लेबनानबीच युद्धविरामको अवधि थपिए पनि दुवै पक्षबीच तनाव र आक्रमण क्रम जारी रहेको छ। पछिल्लो घटनामा इजरायली हवाई आक्रमणका कारण दक्षिणी लेबनानमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

इजरायली रक्षा बलले दक्षिणी लेबनानका यातेर र कफरा क्षेत्रमा रहेको हिजबुल्लाहका रकेट प्रक्षेपण स्थललाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ। ती स्थानहरू आफ्ना सेना र नागरिकका लागि सुरक्षा खतरा बनेको दाबी इजरायलले गरेको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ भने घाइते २ जनाको उपचार भइरहेको छ।

यसैबीच, हिजबुल्लाहले दक्षिणी लेबनानको रम्याह क्षेत्रमा इजरायली बख्तरबन्द सवारीलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ।

युद्धविराम औपचारिक रूपमा कायम रहे पनि दुवै पक्षबीचको सैन्य गतिविधि र तनाव अझै रोकिएको छैन, जसले क्षेत्रीय शान्तिमा अनिश्चितता कायम रहेको देखिएको छ।

बिक्री नहुँदा तरकारी सड्यो, रुपन्देहीका किसान आक्रोशित

बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ मणिग्रामस्थित लुम्बिनी कृषि उपज थोक बजारमा ल्याइएका तरकारी बिक्री हुन नसक्दा कुहिएर नष्ट भएपछि किसानहरूले तीव्र असन्तुष्टि जनाएका छन्।

देशका विभिन्न जिल्लाबाट थोक बिक्रीका लागि ल्याइएका काउली, मुला, फूलगोभीलगायतका तरकारी ग्राहक अभावका कारण सडेर फाल्नुपरेको किसानहरूको गुनासो छ। बुटवल उपमहानगरपालिका–६ मा रहेको बुटवल कृषि उपज थोक बजार केन्द्र तथा अन्य हाटबजारमा समेत बिक्रीको अवसर नपाउँदा उत्पादन नष्ट हुने अवस्था आएको उनीहरूले बताएका छन्।

किसानहरूले बजारमा व्यापारीहरूको सिन्डिकेटका कारण नयाँ किसानहरूले आफ्नो उत्पादन बिक्री गर्न नपाएको आरोप लगाएका छन्। बजार व्यवस्थापनको कमजोरी र पहुँचको अभावले आफूहरू प्रत्यक्ष मारमा परेको उनीहरूको भनाइ छ। उत्पादन गरेर बजारसम्म ल्याए पनि उचित बिक्रीको वातावरण नहुँदा ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उनीहरूले बताएका छन्।

नेपाल किसान महासंघ लुम्बिनी प्रदेशकी अध्यक्ष रीता केसीले बुटवलस्थित फलफूल तथा तरकारी थोक बजार केन्द्रमा व्यापारीहरूको सिन्डिकेटका कारण स्वदेशी उत्पादनको बिक्रीमा समस्या उत्पन्न भएको आरोप लगाइन्। उनका अनुसार भारतीय तरकारी तथा फलफूलले सहजै बजार पाउने तर स्वदेशी उत्पादनले स्थान नपाउने अवस्था चिन्ताजनक छ।

उनले बजार केन्द्रको पुनः टेन्डर प्रक्रियामा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै किसानका लागि छुट्याइएका सटरहरू व्यापारीहरूले कब्जा गरेको आरोप समेत लगाइन्। विभिन्न जिल्लाबाट ल्याइएका तरकारी बजारमा स्थान नपाएको पनि उनले बताइन्।

किसानहरूले पटक–पटक अनुरोध गर्दा पनि बिक्रीको उचित व्यवस्था नभएपछि अन्य हाटबजारमा गाडीमै राखेर बेच्न खोज्दा समेत अवरोध गरिएको गुनासो गरेका छन्। तरकारी बिक्री हुन नसक्दा लाखौँ रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको भन्दै किसानहरूले यसको क्षतिपूर्ति कसले दिने भन्ने प्रश्नसमेत उठाएका छन्।

महिला मन्त्रालयको कार्यक्रममा महासंघ देखिएपछि १० संस्था बाहिरिए

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि काम गर्दै आएका १० संस्थाले राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सहभागी हुने कुनै पनि कार्यक्रममा बहिष्कार गर्ने घोषणा गरेका छन्। यी संस्थाहरूले महासंघले आफ्नै महाधिवेशनमा अपाङ्गता भएका व्यक्तिमाथि दमन र कुटपिट गरेको गम्भीर आरोप लगाएका छन्।

ध्यानाकर्षण पत्रमार्फत उनीहरूले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महासंघको प्रतिनिधि सहभागी भएपछि आफूहरूले कार्यक्रम बहिष्कार गर्नुपरेको स्पष्ट पारेका छन्।

संस्थाहरूका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भएको महासंघको साधारण सभा तथा महाधिवेशन अवैध र जालसाजीपूर्ण तरिकाले चलाइयो, र त्यस क्रममा प्रहरी, बाउन्सर, सेक्युरिटी, स्वयंसेवकका नाममा राखिएका व्यक्तिहरूबाट अपाङ्गता भएका व्यक्तिहरूमाथि कुटपिट, डरधम्की र सहायक सामग्रीसमेत तोडफोड गरियाे ।

ध्यानाकर्षण पत्रमा भनिएको छ—
‘महासंघबाटै अपाङ्गता भएका व्यक्तिहरूमाथि दमन भएको अवस्थामा महासंघ सहभागी हुने कुनै पनि गतिविधिमा हामी सहभागी नहुने निर्णयअनुसार कार्यक्रम बहिष्कार गरिएको हो।’

यी संस्थाहरूले मन्त्रालयलाई स्पष्ट जानकारी गराउँदै भनेका छन् कि महासंघको प्रतिनिधि उपस्थित नभएको अवस्थामा मात्र आफूहरूले यस्ता कार्यक्रममा सहभागी हुनेछन्।

बहिष्कार गर्ने १० संस्था

  • स्वलम्बन जीवन पद्दति केन्द्र
  • अपाङ्गता भएका महिलाहरूको महासंघ
  • वैदिक अपाङ्गता अभिभावक महासंघ
  • नेपाल हेमोफिलिया सोसाइटी
  • नेपाल अपाङ्ग महिला संघ
  • नेपाल अपाङ्ग मानवअधिकार केन्द्र
  • अटिजम केयर नेपाल
  • राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ
  • नेपाल होचापुड्का संघ

मन्त्रालयले शुक्रबार अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को संशोधन मस्यौदाबारे बिहान अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।

यो जग्गा बालेनले विदेशीलाई बेच्न लाग्यो – सुकुम्बासी (भिडियो)

काठमाडौं। थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराइँदैछ । शनिबार बिहानदेखि सुकुमबासी बस्तीमा डोजर चलाइएको हो ।

डोजर चलाएपछि सुकुम्बासी बस्तीका स्थानिय प्रधानमन्त्री बालेन्द्र शाह बालेनप्रति आक्रोशित भएका छन्।

त्यसै क्रममा एक महिलाले प्रधानमन्त्री शाहले सुकुम्बासी बस्ती खाली गराएर बेच्न लागेको आरोप लगाएकी छन्।

 

काजोलले तोडिन् ३० वर्षपछि ‘नो किसिङ पोलिसी’

मुम्बई ।  बलिउडकी सदाबहार अभिनेत्री काजोलले आफ्नो ३० वर्ष लामो फिल्मी करियरमा पहिलो पटक अनस्क्रिन ‘किस’ गर्दाको अनुभव सार्वजनिक गरेकी छन्।

‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘कुछ कुछ होता है’ र ‘कभी खुसी कभी गम’ जस्ता सफल फिल्महरूमा अभिनय गर्दा सधैँ ‘नो किसिङ पोलिसी’ अपनाउँदै आएकी काजोलले सन् २०२३ मा रिलिज भएको ‘द ट्रायल : प्यार, कानुन, धोका’ मार्फत उक्त नियम तोडेकी थिइन्।

अन्तर्राष्ट्रिय युट्युबर तथा प्रस्तोता Lilly Singh को पोडकास्टमा कुरा गर्दै काजोलले यो निर्णय व्यक्तिगत रहर नभई पात्रको आवश्यकताका कारण लिएको स्पष्ट पारिन्। सिरिजमा आफ्ना सह-अभिनेता जीशु सेनगुप्ता सँगको दृश्यबारे उनले भनिन्, ‘यो केवल एउटा किस मात्र थिएन, बरु पात्रको सोच, भावना र उसको जीवनका घटनाहरूको महत्त्वपूर्ण अंश थियो। यदि यो दृश्य हटाइन्थ्यो भने पात्र नै अधुरो हुन्थ्यो।’

काजोलले उक्त दृश्यको सुटिङका क्रममा आफू मानसिक रूपमा तनावग्रस्त र असहज महसुस गरेको पनि बताइन्। ‘म निकै असहज थिएँ। कहिले त लाग्थ्यो बीचमै रोकिदिन्छु कि भन्ने, तर अन्ततः मैले यसलाई व्यावसायिक निर्णयका रूपमा लिएँ र पूरा गरेँ,’ उनले भनिन्।

अमेरिकी शो ‘द गुड वाइफ’ को भारतीय संस्करण ‘द ट्रायल’ मा काजोलले नोयोनिका सेनगुप्ताको भूमिका निभाएकी छन्, जहाँ उनी श्रीमानको स्क्यान्डलपछि पुनः कानुनी पेशामा फर्किने पात्रका रूपमा देखिन्छिन्। यही सिरिजमार्फत काजोलले डिजिटल प्लेटफर्ममा पनि आफ्नो डेब्यु गरेकी हुन्।

७ घण्टाभित्र दुई शक्तिशाली सूर्य विस्फोट, पृथ्वीमा रेडियो अवरोध

एजेन्सी। सूर्यले पछिल्ला केही घण्टामा अत्यन्त शक्तिशाली गतिविधि देखाउँदै ७ घण्टाभित्र दुई वटा प्रबल ‘एक्स-श्रेणी’ का सौर्य विस्फोट (फ्लेयर) उत्सर्जन गरेको छ।  जसले पृथ्वीको केही भागमा रेडियो सञ्चारमा अवरोध उत्पन्न गरेको छ।

पहिलो विस्फोट अप्रिल २३ को राति करिब ९:०७ बजे उत्कर्षमा पुगेको थियो भने दोस्रो विस्फोट अप्रिल २४ को बिहान ४:१४ बजे देखिएको थियो। यी दुवै विस्फोट सूर्यको पश्चिमी भागमा रहेको सक्रिय सूर्य धब्बा क्षेत्रबाट उत्पन्न भएका हुन्। वैज्ञानिकहरूका अनुसार यो पछिल्ला ७८ दिनकै सबैभन्दा शक्तिशाली सौर्य गतिविधि हो।

यी विस्फोटबाट निस्किएको उच्च ऊर्जा विकिरणले पृथ्वीको उज्यालो भागमा पर्ने वायुमण्डलीय तह ‘आयोनोस्फियर’ मा असर पार्दै उच्च-आवृत्ति रेडियो तरङ्गहरूमा अवरोध ल्याएको हो। पहिलो घटनाले प्रशान्त महासागर र अष्ट्रेलिया आसपासका क्षेत्र प्रभावित भएका थिए भने दोस्रो विस्फोटले पूर्वी एशियामा रेडियो सेवा कमजोर बनाएको जनाइएको छ।

सौर्य विस्फोटहरू अत्यन्त शक्तिशाली ऊर्जा विस्फोट हुन्, जसले एक्स-रे तथा पराबैंगनी किरणहरू उत्सर्जन गर्छन्। यिनीहरूलाई शक्ति अनुसार ए, बी, सी, एम र एक्स श्रेणीमा वर्गीकरण गरिन्छ, जसमा ‘एक्स’ सबैभन्दा शक्तिशाली मानिन्छ।

यी विस्फोटसँगै ‘कोरोनल मास इजेक्सन’ पनि देखिएको छ। यद्यपि ती पृथ्वी तर्फ सीधा नआइरहेको प्रारम्भिक अनुमान गरिएको छ। तर यदि ती पृथ्वी नजिकैबाट गुज्रिए भने चुम्बकीय आँधी उत्पन्न भई आकाशमा आकर्षक ध्रुवीय ज्योति (अरोरा) देखिन सक्ने वैज्ञानिकहरूको भनाइ छ।

विशेषज्ञहरूका अनुसार यस्तो सौर्य गतिविधिले रेडियो सञ्चार, नेभिगेसन प्रणाली र उपग्रह सेवामा अस्थायी असर पार्न सक्ने भएकाले यसको निगरानी निरन्तर जारी राखिएको छ।

a close up view of the sun in space, a large fiery solar flare lifts off the sun in the upper right corner.

fiery solar flare erupts from the upper right of the sun.

fiery solar flare erupts from the upper right of the sun.

map showing the concentrated radio blackout across the South Pacific and Australia

map showing radio blackout concentrated over East Asia

तस्वीर नासा :

 

पेट्रोलियम आयातबाट ९ महिनामा ६० अर्बभन्दा बढी राजस्व संकलन

पर्सा।  चालु आर्थिक वर्षको पहिलो नौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट राज्यले ६० अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा बढी हो, जहाँ ५७ अर्ब ५३ करोड रुपैयाँ राजस्व उठेको थियो।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार सो अवधिमा वीरगञ्ज नाकाबाट एक खर्ब ४८ अर्ब १६ करोड रुपैयाँ बराबरका विभिन्न पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात भएका छन्। ती आयातबाट संकलित राजस्व राज्यकोषमा दाखिला गरिएको जनाइएको छ।

आयात विवरणअनुसार आठ लाखभन्दा बढी किलोलिटर डिजेल, तीन लाखभन्दा बढी किलोलिटर पेट्रोल र ठूलो परिमाणमा एलपी ग्यास नेपाल भित्रिएको छ। पेट्रोलियम पदार्थको उच्च आयातका कारण राजस्व संकलनमा पनि वृद्धि भएको देखिएको छ।

गोरखा भूकम्पको ११ वर्ष,अझै पाउन सकेनन् दलितले व्यवस्थित घर (तस्वीरहरू)

गोरखा। खोल्साको छेउमा रहेको सानो बस्ती, झुत्रा त्रिपालले ढाकिएका जीर्ण टहरा र अस्तव्यस्त जीवन-यही यथार्थमा २४ दलित परिवार विगत ११ वर्षदेखि बस्दै आएका छन्। होचो र साँघुरो टहराभित्र धुवाँले कालाम्य भएका भित्ताहरू, छानो र त्यही धुवाँबीच छरिएका सामानहरू उनीहरूको दैनिक जीवनको हिस्सा बनेका छन्।

टहराभित्र न झ्याल छ, न सुरक्षित ढोका। जस्ताको पाताले बारेर दुई भाग बनाइएको सानो संरचनामा आधारभूत सुविधाको अभाव छ। प्रहरी चौकी नजिक भएकाले चोरी-लुटपाटको डर नभए पनि हावाहुरी र वर्षाले त्रिपाल उडाउने त्रास भने सधैं रहन्छ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पपछि यहाँ बसोबास सुरु भएको हो। ५७ वर्षीया माइती माया सुनार भन्छिन्, ‘पहिले डाँडागाउँको गैरीगाउँमा ढुङ्गा-माटोको घर थियो। भूकम्पले घर भत्कियो, पहिरोको जोखिम बढेपछि यहाँ आउनुपर्‍यो। त्यसयता त्रिपालमुनि बसिरहेका छौं।’

बस्तीमा २४ घरपरिवारका लागि जम्मा दुई वटा शौचालय मात्र छन्, ती पनि व्यवस्थित छैनन्। पानीको अभाव र सरसफाइको समस्या उस्तै छ। ३२ वर्षीय समिर सुनारका अनुसार करिब ६०-७० जना एउटै असुविधायुक्त संरचनामा बस्दै आएका छन्।

गर्मीमा अत्यधिक गर्मी र जाडोमा अत्यधिक चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी महिलाले कष्टकर जीवन बिताइरहेका छन्। बस्तीका अगुवा सुकबहादुर विकका अनुसार धेरै ज्येष्ठ नागरिकमा निमोनियाको समस्या देखिएको छ, कतिपयको ज्यानसमेत गइसकेको छ।

२०७२ को भूकम्पले बारपाक क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। त्यसपछि डाँडागाउँ, गैरीगाउँ र कोटडाँडाका ४१ दलित परिवारले सरकारी जग्गामा अस्थायी टहरा बनाएर बस्न थालेका थिए। समयसँगै केही परिवार फर्किए पनि २४ घरधुरी भने अझै फर्किन सकेका छैनन्।

यी परिवारले आफ्नो जग्गाको लालपूर्जा सरकारलाई बुझाएर सट्टापट्टाको प्रक्रिया पूरा गरी स्वीकृति पाइसकेका छन्। तर स्थानीय राजनीतिक विवादका कारण उनीहरूले अझै स्थायी घर बनाउन पाएका छैनन्।

बस्तीका अगुवा विक भन्छन्, ‘हामी धेरै पटक सिंहदरबार धायौँ। सरकारले जग्गा दिने स्वीकृति दिइसकेको छ, तर स्थानीय राजनीतिक कारणले अहिलेसम्म व्यवस्थित बसोबास गर्न पाएका छैनौँ।’

तस्बिर : विजेन अमात्य / नेपाल फोटो लाइब्रेरी 

महानगर प्रहरी प्रमुख भन्छन्- बालेनले राख्ने भनेको लजमा अहिलेसम्म कोहि छैन (भिडियो)

काठमाडौं। सरकारले थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउने कार्यलाई तीव्र बनाएको छ। बस्ती हटाउने क्रममा उल्लेखनीय संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु प्रसाद जोशीका अनुसार हालसम्म वास्तविक रूपमा बसोबासविहीन (‘होमलेस’) व्यक्ति फेला नपरेको बताएका छन्।

उनका अनुसार असक्त, वृद्ध तथा गर्भवती महिलालाई उनीहरूले रोजेको स्थानमा पठाइएको छ। “अहिलेसम्म वास्तविक होमलेस भेटेका छैनौं। कसैले पनि ‘बस्ने ठाउँ छैन’ भनेर आएका छैनन्,” उनले भने। उनले दुई परिवारलाई बिरामी भएपछि अस्पतालसम्म पुर्‍याइएको र चारवटा ट्रकमार्फत सामान सार्न सहयोग गरिएको जानकारी दिए।

जोशीका अनुसार टहरा र संरचनाभित्रका सामान बाहिर निकाल्ने काम जारी छ र अधिकांश व्यक्तिहरू आफ्नै गन्तव्यतर्फ गइरहेका छन्। “यदि कोही होमलेस हुनुहुन्छ भने आउनुस् भनेका छौं, तर अहिलेसम्म कोही पनि आएका छैनन्,” उनले थपे।

महानगरले करिब दुई सय नगर प्रहरी परिचालन गरेको जनाएको छ भने संघीय प्रहरीको संख्या भने यकिन नभएको उल्लेख गरिएको छ।

सौर्य ऊर्जा उत्पादकलाई ‘पिपिए’ गर्न प्राधिकरणको आग्रह

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत् आयोजनाका लागि विद्युत् खरिद सम्झौता (पीपीए) गर्न इच्छुक पक्षलाई सम्पर्क गर्न आह्वान गरेको छ।

प्राधिकरणले कम्तीमा ५१ प्रतिशत स्थानीय तहको साझेदारीमा निर्माण हुने एक मेगावाटसम्म जडित क्षमता भएका सौर्य आयोजनासँग विद्युत् खरिद सम्झौता गर्ने तयारी गरेको हो। यसअघि २०८२ कात्तिक १९ गतेको बैठकले सौर्य आयोजनासँग विद्युत् खरिद बिक्री सम्झौता गर्ने निर्णय गरेको थियो।

प्राधिकरणले त्यस्ता आयोजनाबाट उत्पादित विद्युत् प्रतियुनिट ४ रुपैयाँ ९९ दर कायम गरेको छ। चालु आर्थिक वर्षभित्रै यस्ता आयोजनासँग सम्झौता सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

वैशाख २ गतेको निर्णयअनुसार प्राधिकरणले यसै महिनाको अन्त्यसम्म आवश्यक कागजातसहित निवेदन दिन आग्रह गरेको छ। आयोजनालाई ३३/११ केभी क्षमताको ग्रिड वा वितरण सबस्टेशनमा जडान गरिनेछ। साथै, प्रवर्द्धकको अनुरोधमा ११ केभी वितरण लाइनमार्फत पनि जडानको व्यवस्था गरिने जनाएको छ।

विद्युत् खरिद सम्झौताका लागि निवेदन दिन कम्पनी दर्ता प्रमाणपत्र, स्थानीय तहको कम्तीमा ५१ प्रतिशत सेयर रहेको विवरण, सञ्चालकहरूको विवरण, प्रबन्धपत्र, नियमावली, कर चुक्ताको प्रमाणपत्र, विद्युत् सर्वेक्षण अनुमति पत्र, स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, जग्गा सम्बन्धी कागजातलगायत पेश गर्नुपर्नेछ।

त्यसैगरी, विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने आधिकारिक व्यक्तिको अख्तियारी पत्र र आयोजनाको निर्माण तालिकासहितको विवरणसमेत अनिवार्य रूपमा पेश गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

गर्भवती मृत्यु प्रकरण : पाँच स्वास्थ्यकर्मीमाथि अनुसन्धान, परिवारले बुझे गीताको शव

बुटवल । गर्भपतन गराउने क्रममा मृत्यु भएकी पाल्पाको बगनासकाली गाउँपालिका-२ निवासी २९ वर्षीया गीता पाण्डेको शव परिवारले बुझेपछि अन्त्येष्टि गरिएको छ।

नेपाल मेडिकल काउन्सिलले छानबिन समिति गठन गरी अनुसन्धान सुरु गरेपछि परिवारले शव बुझेको हो। पाण्डेको शुक्रबार पाल्पास्थित राम्दी खोलामा अन्तिम संस्कार गरिएको उनका आफन्त पर्सुराज अर्यालले जानकारी दिएका छन्।

पाण्डेको बुटवलस्थित खत्री नर्सिङ होम, जोनल र इन्दुलेखा फार्मेसीमा उपचारका क्रममा घुमाइँदै गर्दा मृत्यु भएको आरोप छ। उनी १२ हप्ताको गर्भवती थिइन्।

घटनामा संलग्न दुई चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। यसैबीच, नेपाल मेडिकल काउन्सिलका सदस्य डा. सम्राट पराजुलीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ।

सुकुम्बासी स्थानान्तरणसँगै ‘साइटमै’ राहत व्यवस्था, दुई दिन निःशुल्क खाना र अस्थायी आवासको प्रबन्ध

काठमाडौं। सरकारले सुकुम्बासी बस्ती हटाउने कार्यसँगै ‘साइटमै’ राहत तथा व्यवस्थापन गर्ने तयारी गरेको छ। शनिबार बिहानदेखि खटिएको टोलीले बस्ती खाली गराउँदै तत्कालका लागि खानाको व्यवस्था गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार स्थानान्तरण हुने परिवारलाई शनिबार र आइतबार सरकारले नै प्याकेटमा खाना उपलब्ध गराउनेछ। पुनःस्थापनाका लागि छनोट गरिएका स्थानहरूमा पानी, बिजुली र शौचालयको सुविधा सुनिश्चित गरिएको उल्लेख छ।

सरकारले यसअघि निर्माण गरिएका संरचनाहरूलाई नै प्रयोग गर्दै सुकुम्बासी व्यवस्थापन गर्न लागेको हो। शनिबारदेखि थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका बस्ती खाली गराइँदै ती स्थानका बासिन्दालाई नागार्जुन (इचङ्गु) का ४२ वटा आवास युनिटमा राख्ने तयारी गरिएको छ। त्यसैगरी कीर्तिपुरको सत्सङ्ग भवन, भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र, खरीपाटी र चाँदबागका सरकारी भवन तथा खाली जग्गामा पनि अस्थायी बसोबासको व्यवस्था गरिएको छ।

स्थानान्तरणअघि बासिन्दालाई दशरथ रंगशालामा लगेर ‘स्क्रिनिङ’ गरिनेछ। त्यहाँ पहिचान प्रक्रिया पूरा गरेपछि मात्रै उनीहरूलाई होल्डिङ सेन्टरमा राखिने व्यवस्था गरिएको छ।

सरकारले यसपटक भावनात्मक आधारभन्दा तथ्य र लगतका आधारमा ‘सक्कली’ र ‘नक्कली’ सुकुम्बासी छुट्याएर दीर्घकालीन समाधान खोज्ने रणनीति लिएको जनाएको छ।

प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार डिजिटल प्रणालीमार्फत प्रत्येक व्यक्तिको विस्तृत विवरण तयार पारिएको छ। अध्ययनका क्रममा बस्तीमा बसोबास गर्ने धेरै व्यक्तिको अन्यत्र घरजग्गा रहेको पाइएको भन्दै ‘नक्कली’ सुकुम्बासीलाई कुनै विकल्प नदिने र उनीहरूको विवरण सार्वजनिक गरिने बताइएको छ।

बागमती सभ्यतालगायत निकायको अध्ययनले पनि नदी किनारका धेरैजसो बासिन्दाको अन्यत्र सम्पत्ति रहेको देखाएको छ। यस्तो अवस्थामा वास्तविक भूमिहीन तथा विपन्न वर्गलाई मात्र संरक्षण दिने सरकारको तयारी छ। उनीहरूका लागि मानवीय आधारमा पाँच वटा सुरक्षित स्थानमा तत्काल पुनःस्थापनाको व्यवस्था गरिएको जानकारी दिइएको छ।

बायोग्राफी अफ ‘शून्य’

काठमाडौं। शून्य (अंग्रेजी: Zero, संकेत ‘0’) भूमिका महत्त्वपूर्ण रहेको छ। यसको महत्त्वलाई कुनै पनि प्रकारले कम आँक्न सकिँदैन। शून्य एउटा यस्तो अंक हो, जसले आज प्रयोग गरिने सबै स्थानमान पद्धतिहरूमा संख्याहरूको निरूपणका लागि आवश्यक प्रतीकको काम गर्दछ।

यसका अतिरिक्त, यो स्वयं एक संख्या पनि हो। यी दुवै रूपमा गणितमा यसको अत्यन्त महत्वपूर्ण भूमिका छ। शून्यको आविष्कारको बारेमा निश्चित रूपमा केही भन्न सकिँदैन। तर धेरै विद्वानहरूको मान्यता अनुसार अन्य अङ्कहरू जस्तै यसको खोज पनि भारतमै भएको थियो।

शून्यभन्दा पहिले विश्वभर विभिन्न प्रकारका अंक प्रणालीहरू विकास भइसकेका थिए। शून्यको आविष्कार भएपछि पनि यी प्राचीन प्रणालीहरू चलनमै थिए। कतै ५ आधारको प्रणाली प्रयोग हुन्थ्यो भने कतै १२ अंकको प्रणाली प्रचलित थियो। कतै २४ अंक प्रयोग गरिन्थ्यो भने कतै २ अंककै आधारमा गणना गरिन्थ्यो। माया सभ्यतामा अंकहरूको आधार २० थियो भने सिन्धु घाटी सभ्यतामा ९ थियो। धेरै ठाउँमा १ देखि ९ सम्मका अंकहरूलाई मात्र मान्यता दिइन्थ्यो। त्यस समयमा मानिसहरूको ध्यान क्रमशः अंकतर्फ जान थाल्यो। पहिले मानिसहरूले ९ पछि ११ लेख्ने वा मान्ने गर्थे, तर उत्तर वैदिक कालमा शून्यको आविष्कार भएपछि गणितमा एक क्रान्ति भएको मानिन्छ।

शून्यलाई हेर्दा केही होइन जस्तो लागे पनि यसको चमत्कार यस्तो छ कि यसले १ लाई १०, १० लाई हजार, हजारलाई लाख र करोडसम्म विस्तार गर्न सक्छ। शून्यको विशेषता यो हो कि यसलाई कुनै पनि संख्याले गुणा गर्दा परिणाम शून्य नै रहन्छ। शून्यको न त लम्बाइ हुन्छ, न चौडाइ, न गहिराइ, र पनि अत्यन्त रहस्यमयी छ शून्य।

शून्यको इतिहास
ईसा पूर्व तेस्रो सहस्राब्दीमा लेखन प्रणालीहरूको विकाससँगै शून्यको अवधारणाका प्रमाणहरू देखिन थाल्छन्।

कुनै पनि वस्तु बाँकी नरहेको अर्थमा शून्यको प्रयोग मिस्र सभ्यताका लेखापालहरूले लगभग ईसा पूर्व १७०० तिर सुरु गरेका थिए। मिस्र सभ्यतामा शून्यलाई ‘नफर’ भनिन्थ्यो। यसको आधार हृदयको चिह्न थियो, जुन दुई डण्डीमाथि राखिएको चम्चाजस्तो देखिन्थ्यो। यस चित्राक्षरको मूल अर्थ ‘धेरै सुन्दर’ थियो। धेरै फिरऔनहरूको नाम यस चिह्नबाट अंकित गरिएको पाइन्छ, जस्तै नेफरतीती।

मिस्रका अभिलेखहरूमा यो चिह्न शून्यलाई संख्या रूपमा लेख्न प्रयोग गरिएको पाइन्छ, साथै भवनहरूको भूतल (ग्राउन्ड फ्लोर) जनाउन पनि प्रयोग भएको प्रमाण भेटिन्छ, जस्तै लिफ्टमा ० लेखिने परम्परा।

मिस्रसँग समकालीन बेबिलोनमा ६० आधारित संख्या प्रणाली प्रयोग हुन्थ्यो। यहाँ शून्यका लागि खाली स्थान छोडिन्थ्यो, तर कुनै विशेष चिह्न प्रयोग गरिँदैनथ्यो। ईसा पूर्व आठौँ शताब्दीदेखि ठूलो संख्याहरू लेख्दा स्थानपूर्तिका लागि एक विशेष चिह्न प्रयोग हुन थाल्यो, तर यसलाई पूर्ण शून्य मान्न सकिँदैन।

मध्य अमेरिकामा माया सभ्यताको पूर्ववर्ती ओल्मेक सभ्यतामा शून्यका लागि ‘क्वात्रेफोइल’ भनिने चिह्न प्रयोग हुन्थ्यो। माया सभ्यताले कछुवाको खोलजस्तो देखिने चिह्नलाई शून्यको रूपमा प्रयोग गर्‍यो। सम्भवतः यो अवधारणा भारतको शून्य चिन्हभन्दा पनि पुरानो हुन सक्छ।

प्राचीन ग्रीसमा शून्यलाई ‘मिदेन’ भनिन्थ्यो, जसको अर्थ ‘केही पनि होइन’ हो। बेबिलोनबाट प्रेरित भई टोलमीले लगभग ईसा पूर्व १५० तिर शून्यका लागि गोलाकार चिह्न प्रयोग गर्न थालेका थिए।

भारतीय परम्परामा शून्यको अवधारणा ‘रिक्तता’ वा ‘अभाव’ को रूपमा धेरै प्राचीन समयदेखि थियो। तर शून्यलाई एक अंकको रूपमा परिभाषित गर्ने कार्य पिङ्गलले ईसा पूर्व तेस्रो शताब्दीतिर गरेका थिए। उनलाई पाणिनिको भाइ पनि भनिन्छ। उनले आफ्नो ग्रन्थ ‘छन्दसूत्र’ मा गणनाका लागि शून्य र एक प्रयोग गरेका थिए, जसले द्विआधारी संख्या प्रणालीको आधार तयार गर्‍यो।

चौथो शताब्दीमा महाकवि सुबन्धुले आफ्नो कृतिमा शून्य बिन्दु चिह्नको उल्लेख गरेका छन्।

पाँचौँ शताब्दीमा आर्यभटले स्थानमान प्रणाली प्रयोग गरे तर शून्यको स्पष्ट प्रतीक ‘ख’ अक्षरको रूपमा प्रयोग गरेका थिए। सातौँ शताब्दीमा ब्रह्मगुप्तले आफ्नो ग्रन्थ ‘ब्राह्मस्फुटसिद्धान्त’ मा शून्यलाई स्पष्ट रूपमा अंकको रूपमा परिभाषित गरे।

बक्षाली पाण्डुलिपि (संस्कृत ग्रन्थ) मा पनि शून्यको प्रारम्भिक प्रयोगका प्रमाण भेटिन्छन्, जसको मिति करिब ईसा पूर्व २३३ देखि ईसा ३८४ सम्म अनुमान गरिएको छ।

चीनमा ईसा पूर्व चौथो शताब्दीदेखि गणनामा खाली स्थान छोडेर शून्यको प्रयोग गरिन्थ्यो। पछि आठौँ शताब्दीदेखि गोलाकार चिह्न (〇) प्रयोग हुन थाल्यो, जसलाई भारतीय प्रभाव मानिन्छ।

कम्बोडियामा ६०५ शक संवत (ईसा ६८३) को अभिलेखमा शून्यलाई बिन्दुको रूपमा प्रयोग गरिएको पाइन्छ।

ग्वालियरको चतुर्भुज मन्दिरको अभिलेख (ईसा ८७६) मा गोलाकार शून्यको स्पष्ट प्रमाण भेटिन्छ। अरबहरूले आठौँ शताब्दीतिर भारतीय गणितबाट शून्यको अवधारणा ग्रहण गरे। अल-ख्वारिज्मीको कार्यले यसलाई अझ विकसित गर्‍यो। पछि यो ज्ञान युरोपमा फैलियो र ९७६ ई. तिर स्पेनको ‘कोडेक्स विगिलानस’ मा यसको प्रयोग देखिन्छ।

यसरी शून्यको अवधारणा विभिन्न सभ्यताहरूमा क्रमिक रूपमा विकसित हुँदै आजको आधुनिक गणितीय रूपसम्म पुगेको हो।

गणितमा शून्य किन उपयोगी छ?
आधुनिक गणितमा शून्यको प्रयोग दुई प्रमुख रूपमा हुन्छ। पहिलो, यो हाम्रो संख्या प्रणालीमा एक महत्त्वपूर्ण स्थान-धारक अंक हो। अंकहरूको शृङ्खलामा अंकको अनुपस्थिति जनाउन प्रयोग गरिएको शून्यको प्रयोग गरिन्छ।

यसलाई एक उदाहरणबाट बुझौँ। संख्या ‘103’ लाई सोच्नुहोस्। यसमा शून्य ‘दशौँ स्थान’ मा छ र यसले देखाउँछ कि त्यहाँ केही पनि छैन। यसैले हामी बुझ्छौँ कि यो संख्या ‘एक सय तीन’ हो, ‘तेह्र’ होइन।

रोमन अंक प्रणालीमा 103 लाई CIII लेखिन्छ र 99 लाई XCIX लेखिन्छ। अब CIII र XCIX जोड्ने प्रयास गर्दा गणना सजिलो हुँदैन। यसको कारण रोमन अंकमा शून्यको अभाव हो। त्यसैले उनीहरूको प्रणालीमा गणना कठिन हुन्थ्यो।

शून्यको प्रयोगले स्थान-मान प्रणालीलाई सम्भव बनायो। यसले हामीलाई ठूलो तथा जटिल संख्याहरू सजिलै जोड्न, घटाउन, र समूह परिवर्तन गर्न सहयोग गर्छ।

दोस्रो, शून्य आफैँमा एक संख्या हो।
गणितको भाषामा शून्य यस्तो अंक हो जसको मान आफैँमा शून्य हुन्छ, तर जब यसलाई कुनै अशून्य अंकको दायाँतर्फ लेखिन्छ, तब त्यस अंकको मान दस गुणा बढ्छ।

सम र विषम अङ्कहरूको कुरा गर्दा शून्यलाई सम अङ्क मानिएको छ।

यदि कुनै संख्याको अन्त्यमा शून्य आएको छ भने त्यो संख्या २, ५ र १० ले पूर्ण रूपमा भाग जान सक्छ, अर्थात् त्यो संख्या पूर्ण रूपमा विभाजित हुन्छ।

1 लाई 0 ले भाग गर्दा अपरिभाषित हुन्छ।
1/0 = अपरिभाषित

0 लाई 1 ले भाग गर्दा अनन्त हुन्छ।
x → 0 (1/x) = अनन्त

किनभने x → 0 भन्नुको अर्थ x = 0 होइन, बरु 0 को सबैभन्दा नजिकको मानतर्फ जानु हो।

दार्शनिक दृष्टिमा ‘शून्य’
‘शून्य’ शब्दको अध्ययन अत्यन्त रोचक छ। यो जति प्रचलित भयो, त्यति नै प्रकारका यसको अर्थ पनि गरिए। दोस्रो र तेस्रो शताब्दीको बीचमा आचार्य नागार्जुनपछि शून्यको कल्पना बौद्ध प्रभावका कारण अत्यन्त व्यापक भयो। यद्यपि धेरै पहिले नै बौद्ध परम्परामा शून्यलाई परम तत्त्वको रूपमा पनि कल्पना गरिएको थियो। ‘महाभारत’ मा भीष्मले विष्णुको सहस्र नामहरूको उपदेश दिँदै उनको नाम ‘शून्य’ पनि बताएका छन् र त्यसको व्याख्या गर्दै शंकराचार्यले भनेका छन्, ‘सर्वविशेषरहितत्वात् शून्यवत् शून्यः’, अर्थात् सबै विशेषण, गुण र प्रकृतिबाट रहित भएकाले उहाँ शून्यजस्तै हुनुहुन्छ।

हिन्दू दार्शनिकहरूले यस शून्यको अर्थ ‘सत्ताको अभाव’ भनेर लिन्छन्, जुन भ्रमपूर्ण मानिन्छ। नागार्जुनले शून्यको व्याख्या गर्दै भनेका छन्, ‘यसलाई शून्य पनि भन्न सकिँदैन, अशून्य पनि भन्न सकिँदैन, र दुवै (शून्य र अशून्य) पनि भन्न सकिँदैन।’ यही भाव व्यक्त गर्न ‘शून्य’ शब्द प्रयोग हुन्छ। नागार्जुनले ‘माध्यमिक शास्त्र’ मा उत्पत्ति, गति, दुःख, मोक्ष आदिको तर्कसहित विश्लेषण गर्दै सबैमा विरोधी धर्महरूको उपस्थिति देखाएर सबैलाई शून्य सिद्ध गरेका छन्।

सिद्धहरूले शून्यलाई शून्यवादभन्दा पनि विस्तृत अर्थमा लिएका छन्। बौद्ध सिद्धहरूले आफ्नो प्रज्ञोपाय प्रणालीमा यसै शून्यलाई नैरात्म्य प्रज्ञा वा महामुद्राको रूपमा स्वीकार गरेका छन् र महाशुखचक्रमा यसको स्थिति मानेका छन्। उनीहरूले शून्यलाई द्वैत भावनाबाट मुक्त अद्वय तत्त्व मानेर भाव र अभाव दुवैको त्याग गरी मध्यम तत्त्वका रूपमा स्वीकार गरेका छन्।

‘लंकावतारसूत्र’ मा भनिएको छ कि शून्य वस्तुहरूको कर्मस्वभाव हो। दृश्य जगत शून्य स्वभाव भए पनि चित्तको अस्तित्व रहन्छ, त्यसैले निर्वाणमा भवको विनाश भए पनि चित्त मात्रको व्यवस्था समाप्त हुँदैन। यसरी सिद्धहरूको तत्त्वदर्शन विज्ञानवादबाट प्रभावित चित्तपरक मानिन्छ, तथताको सिद्धान्तअनुसार। तर उनीहरूले भव र निर्वाण दुवैलाई शून्य स्वभाव मानेका छन्।

शून्य तत्त्व वर्णहीन र आकृतिविहीन छ। यसको आफ्नै कुनै आकार छैन, तर शून्यताको रूपमा सबै आकृतिहरूमा व्याप्त छ। न यो ठूलो छ, न सानो, न लामो, न छोटो; न रातो, न हरियो, न पहेँलो, न कालो। यो सबै वर्ण र रूपहरूमा व्याप्त छ।

यही तत्त्व चित्तमा, जगतमा र त्रिभुवनमा व्याप्त छ। भव केवल त्यस परम तत्त्वको तरंग प्रवाह हो, जुन अन्ततः त्यसैमा विलीन हुन्छ। यसको स्वरूप यति गहिरो र रहस्यमय छ कि यसलाई पूर्ण रूपमा स्पष्ट रूपमा वर्णन गर्न सकिँदैन।

भविष्यमा शून्य
तपाईं अहिले जुन कम्प्युटर वा मोबाइलमा यो लेख पढिरहनुभएको छ, त्यो पनि बाइनरी प्रणाली अर्थात् शून्य र एक (0 र 1) को आधारमा चल्छ। शून्य बिना कुनै पनि आधुनिक इलेक्ट्रोनिक उपकरण सम्भव हुँदैन। गणना, डाटा प्रोसेसिङ, सञ्चार र सम्पूर्ण डिजिटल प्रविधिको आधार नै शून्य हो। त्यसैले शून्य मात्र अंक होइन, आधुनिक विज्ञान र प्रविधिको मेरुदण्ड हो, जसको अभावमा आजको डिजिटल संसार कल्पना गर्न पनि सकिँदैन।

बाइनरी प्रणाली (0 र 1) बाट अगाडि बढ्दै क्वान्टम बिट्सतर्फ जाँदैछ। त्यसमा पनि शून्यको अहम् भूमिका रहनेमा दुईमत छैन।

एआई र अल्गोरिदमको कब्जा- सामाजिक सञ्जाल दर्ता नहुँदा प्रहरीलाई पर्यो अप्ठेरो

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्त भयो। जसको एउटा मुख्य कारण थियो- सामाजिक सञ्जाल नियमनका नाममा गरिएको बन्द।

त्यसपछि देशमा अन्तरिम सरकार बनेर निर्वाचन पनि सम्पन्न भयो। अहिले देशमा राष्ट्रिय स्वतन्त्र पार्टीको करिब दुई–तिहाइ बहुमतसहितको एकल सरकार छ। सरकारको नेतृत्व गरिरहेका छन्- रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’।

केही दिनअघि सञ्चार मन्त्रालयमार्फत सूचना तथा प्रसारण विभागले सामाजिक सञ्जालमा भ्रामक सूचना फैलिरहेको भन्दै प्रेस विज्ञप्ति जारी गर्यो। उक्त विज्ञप्तिमा सामाजिक सञ्जालमा अफवाह फैलाउने र गोपनीयता उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने भनिएको छ।

त्यसकै भोलिपल्ट, नेपाल प्रहरीका आइजीपी दान बहादुर कार्कीले सामाजिक सञ्जाल दर्ता नहुँदा अनुसन्धानमा अप्ठेरो परिरहेको बताए। सामाजिक सञ्जाल दर्ता नहुँदा साइबर सम्बन्धी मुद्दाहरूमा काम गर्न गारो परेको उनको धारणा थियो। ‘हामीसँग आफ्नै कम्पनी छैन, विदेशद्वारा सञ्चालित हौँ। हाम्रो नेपालबाहिर कुनै नेटवर्क छैन,’ उनले कार्यक्रममा भनेका छन्।

सामाजिक सञ्जालले गर्दा पछिल्लो समय साइबर अपराधका घटनाहरू बढ्दै गएका छन्। अनावश्यक सूचनाहरूको त फेसबुक र टिकटकलगायतका प्लेटफर्महरूमा बाढी नै देखिन्छ। यसका लागि सामाजिक सञ्जाल नियमन आवश्यक नै छ।

कार्कीका अनुसार, ‘साइबर ब्युरोमा अहिले १८ हजारभन्दा बढी साइबरसम्बन्धी मुद्दा दर्ता भएका छन्। जसमध्ये यही वर्षका पछिल्ला नौ महिनामा मात्रै १५ हजार मुद्दा थपिएका छन्। धेरै मुद्दामा स्थानीय तहले समेत जवाफ नदिएकाले प्रहरीले नै हेर्नुपर्ने अवस्था छ।’ तर दर्ता नहुँदा साइबर अपराधमा प्रहरीले प्रभावकारी ढङ्गले काम गर्न सकेको छैन। संलग्नलाई कारबाही नहुनु नै साइबर अपराध बढ्दै जानुको मुख्य कारण हो।

सामाजिक सञ्जालमार्फत ब्ल्याकमेलिङ, ह्यारेसमेन्ट, अफवाह, सेक्स्टर्सन, सेक्स्टिङ जस्ता साइबर अपराधका घटना बेला–बेला सार्वजनिक भइरहन्छन्। तर अपराध गर्नेलाई कारबाही भएको सुनिदैन अथवा कारबाहीको दायरामै पुग्दैनन्। यसमा कानुनी सीमितता र डेटा उपलब्ध समयमा नहुने भएकाले प्रभावकारी काम गर्न नसकिएको आइजीपी कार्की बताउँछन्।

‘फेसबुक र इन्स्टाग्रामबाट विवरण ल्याउन हामीले व्यक्तिगत सम्बन्ध तथा औपचारिक पत्राचारमार्फत मात्र काम गर्दै आएका छौँ। यस्तो विवरण आउन २०/२५ दिन लाग्छ,’ उनले भने, ‘आरोपित भाग्ने र पीडितले आत्महत्या गर्ने जस्ता जोखिम भइहाल्छ कि भनेर हामी चिन्तित हुन्छौँ।’

नेपालमा सामाजिक सञ्जाल प्लेटफर्मको कुनै कार्यालय छैन। प्रहरीले डेटा माग्न विदेशस्थित कार्यालय गुहार्नुपर्ने स्थिति छ। जसका कारण पनि साइबर अपराधसम्बन्धी अनुसन्धान प्रभावकारी बन्न सकेको छैन।

सूचना विभागले पनि सामाजिक सञ्जालबाट भ्रामक सूचना र अफवाह फैलाउने कार्यप्रति चिन्ता व्यक्त गरेको छ। उसले प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता कार्य नगर्न अपिल गरेको छ। र, भ्रम छर्ने काम गरेको पाइएमा कारबाही हुने चेतावनी पनि दिएको छ।

तत्कालीन ओली सरकारले सामाजिक सञ्जाल नियमन गर्न विदेशस्थित कम्पनीका कार्यालयहरूलाई पत्राचार नै गरेको थियो। तर उनीहरूले त्यसलाई टेरेनन्। दुई वर्षसम्म पत्राचार गर्दा पनि दर्ता गर्ने संकेत नपाएपछि जेनजी विद्रोहको मुखमै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइयो।

सामाजिक सञ्जाल बन्द गरियो भनेर भदौ २३ र २४ गतेको विध्वंसात्मक आन्दोलन भयो। ओली सरकार अपदस्त भयो। अब अहिलेको सरकार र सुरक्षा निकायको काँधमा सामाजिक सञ्जाल नियमन र दर्ता गराउनुपर्ने कार्यभार आइपरेको छ।

सामाजिक सञ्जाल नियमन हुनुपर्छ। दर्ता हुनुपर्छ। सामाजिक सञ्जालका दर्ता नभएका प्लेटफर्महरूले नेपालमा आफ्ना कार्यालय स्थापना गर्नुपर्छ। कर पनि तिर्नुपर्छ। सञ्जाल दर्ता नहुँदा करको समस्या मात्रै परेको छैन, दिनप्रतिदिन साइबर अपराध बढ्दै गएका छन्।

गाली, बेइज्जती, होच्याउने, उडाउने कार्यका लागि सामाजिक सञ्जाल प्लेटफर्महरू रंगमञ्च जस्तै बनेका छन्। जहाँ आधारहीन र अपाच्य कुराहरूको बाढी बगिरहन्छ। सामाजिक सञ्जाल अपराध र अश्लीलतामा प्रयोग हुनु हुँदैन। विचारहरूको स्वस्थ प्रतिस्पर्धा, कला–संस्कृतिको जगेर्ना, पर्यटन प्रवर्द्धनको साधनजस्ता थुप्रै कामका लागि यसको प्रभावकारी उपयोग गर्न सकिन्छ। तर यहाँ कसैको निजी विचारमा पनि कमेन्टको वर्षा हुन्छ।

सामाजिक सञ्जाल वैमनस्यताको केन्द्र बन्नु हुँदैन। आपराधिक क्रियाकलाप रोकिनुपर्छ। नेपाली समाज यसै पनि विभाजनको खतरामा रहँदै आएको छ। त्यसमा सामाजिक सञ्जालले ‘आगोमा घिउ’ खन्याउने भूमिका नखेलोस्।

विश्व २१औँ शताब्दीको उत्तरार्धतिर उभिएको छ। आज विश्व बजारलाई ‘एआई’ र ‘अल्गोरिदम’ ले नियन्त्रणमा राख्छ। सामाजिक सञ्जालका सबै प्लेटफर्महरू एआई र अल्गोरिदमले नै नियन्त्रण गर्छन्।

मानिस क्रमशः एआईद्वारा नियन्त्रित बन्दै गएको छ। यसपछि ‘एआई’ भन्दा ठूलो आविष्कार नै नहुने विश्लेषण भइरहेका छन्। एआई बेसिस खर्बौँका प्रोजेक्टहरू बनिरहेका छन्। यदि ती सफल भए भने ‘स्पेस’ मा मानव बस्ती ‘लन्च’ हुनेछन्। तर हाम्रोमा अहिलेसम्म त्यही एआई र अल्गोरिदमबाट नियन्त्रित फेसबुकहरू दर्ता छैनन्। सायद भदौ २३ र २४ को परिणाम त्यसैको प्रभाव पनि हुन सक्छ। खैर, समयमा सञ्जाल दर्ता भएनन् भने त्यसले भविष्यमा गम्भीर खतरा निम्त्याउन सक्छ।

बालेनले ‘ढुक्क हुनुहोस्’ भन्दै सुकुम्बासीलाई दिए ढाडस

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँका खोला किनारमा रहेका सुकुम्बासी बस्तीहरूको व्यवस्थापन र सुरक्षित स्थानान्तरणबारे सरकार प्रतिबद्ध रहेको बताएका छन्।

वर्षेनि बाढीका कारण थापाथली, गैरीगाउँ, मनोहरा लगायत क्षेत्रका बासिन्दाले ज्यान जोगाउन सामान छोडेर भाग्नुपर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गर्दै उनले यो दीर्घकालीन समस्या भएको बताएका छन्।

प्रधानमन्त्री शाहले अब यस समस्यालाई थाती नराखी सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। जोखिमपूर्ण क्षेत्रमा बसोबास गरिरहनु नागरिक अधिकार नभई सुरक्षित आवासमा बस्ने अधिकार सुनिश्चित हुनुपर्ने उनको भनाइ छ।

खोला किनारका बस्तीका कारण ढल निकास प्रणालीमा समस्या उत्पन्न भई उपत्यकाको वातावरण प्रभावित भएको उल्लेख गर्दै उनले स्थानान्तरणले ढल व्यवस्थापन र सरसफाइ सुधारमा समेत मद्दत पुग्ने बताएका छन्।

उनका अनुसार थापाथली, गैरीगाउँ, मनोहरा लगायत क्षेत्रका बासिन्दालाई मानवीय दृष्टिकोण अपनाउँदै बल प्रयोग नगरी सुरक्षित स्थानमा स्थानान्तरण गरिनेछ।

प्रधानमन्त्री शाहले आफ्नो निर्वाचन वाचा, पार्टीको वाचापत्र र सरकारको १०० बुँदे कार्यसूचीअनुसार सुकुम्बासी व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताए। उनले वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याएर दीर्घकालीन समाधानतर्फ सरकार अघि बढ्ने स्पष्ट पारे।

देशभरका वास्तविक भूमिहीन परिवारका लागि कानुनी प्रक्रिया पूरा गरी जग्गा वितरणको तयारी भइरहेको उल्लेख गर्दै उनले यो समस्या वर्तमान सरकारले स्थायी रूपमा समाधान गर्ने दाबी गरेका छन्।

प्रधानमन्त्री शाहले ढुक्क रहन आग्रह गर्दै सरकार जिम्मेवार ढंगले समाधानतर्फ अघि बढिरहेको बताएका छन्।

कस्तो छ सुकुमबासीका लागि बनाइएका भवनको हालत ? (तस्वीरहरु)

काठमाडौं। काठमाडौंको नागार्जुन नगरपालिका-१ स्थित रानी वनमा सुकुम्बासीका लागि सरकारले निर्माण गरेको भवनहरू अलपत्र अवस्थामा पुगेका छन्।

तीन वटा भवन निर्माण गरिएको उक्त क्षेत्रमा अहिले नगरपालिकाको वडा नम्बर १ कार्यालय, प्रहरी बिट, स्वास्थ्य कार्यालय र रानीवन नासीढोका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालय सञ्चालनमा छन्। एउटा भवनमा भने मानव सेवा आश्रमले ५४ जना वृद्धवृद्धालाई आश्रय दिइरहेको छ।

अन्य भवनहरू भने प्रयोगविहीन बनेका छन्। केही भवन खण्डहर जस्तै देखिन्छन् भने कतिपय स्थानमा परेवा र चराचुरुङ्गीले गुँड बनाएका छन्।

लामो समयदेखि उपयोगमा नआउँदा भवन वरिपरि झारपात उम्रेर फोहोरसमेत बढेको स्थानीयले बताएका छन्।

२१ वर्षीय युवक पक्राउ,अनुसन्धानले खुलायो यस्तो रहस्य ?

काठमाडौं।  काठमाडौँको न्युरोड क्षेत्रमा लुटपाट र बैंकको एटीएम मेसिन तोडफोड गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

काठमाडौँ महानगरपालिका-२७ असन बस्ने, सिन्धुली हरिहरपुरगढी गाउँपालिका-८ क्यानखोला घर भएका २१ वर्षीय सविन नेपालीलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो।

अनुसन्धानका अनुसार, सविनले बुधबार राति न्युरोडको रामघाटस्थित गल्लीमा एक व्यक्तिमाथि कुटपिट गरी लुटपाट गरेका थिए। त्यसपछि बिहीबार बिहान उनले गोङ्गबु चोकस्थित ग्लोबल आईएमई बैंकको एटीएम मेसिनसमेत तोडफोड गरेको खुलेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सामाखुसी क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउ परेका सविनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ। उनीमाथि लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोड सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइने भएको छ।

साखुँमा प्रहरीले चलायो गोली

काठमाडौं।  काठमाडौंको साखुँमा गोली चलेको छ। लागूऔषध कारोबारीलाई पिछा गर्ने क्रममा प्रहरीले गोली चलाएको हो।

प्रहरीका अनुसार, घटनाका क्रममा लागूऔषध कारोबारीको तर्फबाट पनि एक राउन्ड गोली चलेको हो। सुरक्षाका लागि प्रहरीले पनि जवाफी रूपमा एक राउन्ड गोली चलाएको जनाएको छ।

गोली लागेर एक जना लागूऔषध कारोबारी घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल लगिएको छ।

प्रहरीले घटनास्थलबाट लागूऔषध र एक थान पेस्तोल समेत बरामद गरेको छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

ट्रम्पले तोके सराजीको टाउकोको मूल्य १ करोड डलर

एजेन्सी।  इराकमा सक्रिय एक सशस्त्र समूहका नेताको खोजी तीव्र बनाउँदै अमेरिकी विदेश मन्त्रालयले उक्त नेताबारे विश्वसनीय सूचना दिने व्यक्तिलाई एक करोड अमेरिकी डलरसम्मको पुरस्कार दिने घोषणा गरेको छ।

इरान समर्थित मानिने कातेब सैयद अल-शुहादा (केएसएस) का नेता हाशिम फिन्यान रहिम अल–सराजीलाई लक्षित गर्दै यो घोषणा गरिएको हो। उनी ‘अबु अला अल-वलाई’ नामबाट पनि परिचित छन्।

अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सूचनामा अल-सराजीको गतिविधि, ठेगाना र पहिचानबारे जानकारी दिने व्यक्तिलाई पुरस्कारसँगै स्थानान्तरणको सुविधा समेत उपलब्ध गराइने जनाएको छ।

अमेरिकाका अनुसार अल-सराजी नेतृत्वको समूहले इराकी नागरिकमाथि आक्रमण गर्नुका साथै इराक र सिरियामा रहेका अमेरिकी कूटनीतिक संरचना, सैन्य अड्डा तथा कर्मचारीलाई लक्षित गर्दै आक्रमण गरेको आरोप छ।

उक्त समूह इराकको राजनीतिक संरचनाभित्रै, विशेषगरी शिया गठबन्धनसँग सम्बद्ध सत्तारूढ शक्तिहरूमध्ये एकको रूपमा रहेको बताइन्छ। यसले इराकमा सशस्त्र समूहहरूको राजनीतिक प्रभाव अझै बलियो रहेको देखाएको छ।

लामो द्वन्द्वपछि केही स्थिरता देखिएको इराकमा पछिल्ला क्षेत्रीय तनावका कारण पुनः अस्थिरताको जोखिम बढेको विश्लेषण गरिएको छ। विशेषगरी फेब्रुअरी २८ मा अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको आक्रमणपछि मध्यपूर्वमा तनाव चर्किएको हो, जसको प्रभाव इराकसम्म पुगेको बताइन्छ।

यसअघि पनि अमेरिकी विदेश मन्त्रालयले कातेब हिजबुल्लाहका एक नेतामाथि यस्तै प्रकारको इनाम घोषणा गरेको थियो। ती नेता अमेरिकी पत्रकार शेली किटलेसनको अपहरणमा संलग्न रहेको आरोपमा जोडिएका थिए।

यसैबीच, अमेरिकी मिडिया रिपोर्टअनुसार वासिङ्टनले इराकमा नगद ढुवानी रोक्ने र सुरक्षा कार्यक्रमका लागि दिइँदै आएको कोष कटौती गर्ने निर्णय गरेको छ। तेहरान समर्थित समूहहरूमाथि दबाब बढाउने उद्देश्यले गरिएको यो कदमले बग्दाद-वासिङ्टन सम्बन्धमा थप कूटनीतिक तनाव सिर्जना गरेको विश्लेषण गरिएको छ।

डाइङ स्टारभित्र जेम्स वेबको नजर: ‘बक्कीबल’ले चकित बनायो वैज्ञानिकलाई

काठमाडौं। अत्याधुनिक जेम्स वेब स्पेस टेलिस्कोपले अन्तरिक्षमा पाइने अनौठा कार्बन अणु ‘बक्कीबल’ (बकमिन्स्टरफुलरीन) को उत्पत्तिसम्बन्धी नयाँ जानकारी सार्वजनिक गरेको छ। यस नयाँ अवलोकनले वैज्ञानिकहरूलाई दशकौँदेखि रहँदै आएको अणुको रहस्यलाई  गहिरो बनाएको छ।

करिब १० हजार प्रकाश वर्ष टाढा रहेको ‘टीसी-१’ नामक ग्यास नेबुलामा गरिएको अध्ययनले बक्कीबलहरूको उत्पत्तिस्थलसमेत उजागर गरेको छ। यो नेबुला मर्दै गरेको ताराबाट बनेको हो, जसले आफ्नो बाहिरी तहहरू फालेर ग्यास र धुलोको खोल बनाएको हुन्छ। त्यही क्षेत्रमा गोलाकार, फुटबलजस्तो संरचना भएका बक्कीबल अणुहरू फेला परेका छन्।

क्यानडाको वेस्टर्न युनिभर्सिटीका भौतिकशास्त्री जान क्यामिका अनुसार नयाँ तस्बिरहरूले पहिले थाहा भएकोभन्दा धेरै जटिल संरचना देखाएका छन्। ‘हामीले पहिले केवल सतह मात्र छोएका रहेछौँ, अहिले देखिएका संरचनाहरू अद्भुत छन् र धेरै नयाँ प्रश्नहरू उठाएका छन्,’ उनले बताएका छन्।

बक्कीबलहरू कार्बनका खोक्रा गोलाकार अणु हुन्, जसलाई बकमिन्स्टर फुलरको नामबाट नामकरण गरिएको हो। यी अणुहरू ‘पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्बन’ समूहमा पर्छन्, जसलाई जीवनका आधारभूत तत्वहरूमध्ये एक मानिन्छ।

यसअघि सन् २०१० मा  स्पिट्जर स्पेस टेलिस्कोप मार्फत पहिलोपटक अन्तरिक्षमा बक्कीबलको खोज गरिएको थियो। तर नयाँ जेम्स वेब स्पेस टेलिस्कोपले अझ स्पष्ट र विस्तृत अवलोकन गर्न सक्ने भएकाले अहिले थप जानकारी प्राप्त भइरहेको छ।

वैज्ञानिकहरूका अनुसार बक्कीबलहरू केवल मर्दै गरेका तारामा मात्र नभई नयाँ ताराहरू,अन्तरतारकीय बादल र उल्कापिण्डहरूमा समेत पाइएका छन्। तर ती सबै ठाउँमा समान रूपमा नदेखिनु अझै रहस्यकै विषय बनेको छ।

अनुसन्धान टोलीले अब बक्कीबलहरू कसरी बन्छन्, किन विशेष अवस्थामा मात्र देखिन्छन्, र किन उनीहरूको प्रकाश उत्सर्जन हालका वैज्ञानिक मोडेलसँग मेल खाँदैन भन्ने विषयमा थप अध्ययन गर्ने योजना बनाएको छ।

वैज्ञानिकहरूका अनुसार यो अध्ययनले जीवनका आधारभूत अणुहरू कसरी विकसित हुन्छन् भन्ने बुझ्न मद्दत गर्नेछ। साथै, मर्दै गरेका ताराहरूको वातावरण, तापक्रम, रासायनिक संरचना र ग्यासको गति बुझ्न पनि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

चोर नाकाबाट अवैध रूपमा भित्र्याइएको ४ क्विन्टल बढी खुरा नष्ट

रौतहट। रौतहटको परोहा नगरपालिकास्थित नेपाल–भारत सीमावर्ती चोर नाकाबाट अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको बोइलर कुखुरा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ।

परोहा नगरपालिका-८ नरकटिया सीमा क्षेत्र हुँदै अवैध रूपमा नेपाल ल्याइँदै गरेका १३४ पिस (४०२ केजी) प्रतिबन्धित बोइलर कुखुरा सशस्त्र सीमा सुरक्षा गुल्म गौरको टोलीले बरामद गरेको हो। गएराति करिब ९ः४० बजे विओपि सरमुजवाबाट खटिएको गस्ती टोलीले भारतबाट झोलामा बोकेर ल्याउँदै गरेको अवस्थामा ती कुखुरा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएका कुखुरालाई शुक्रबार बिहान स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीय भद्रभलाद्मीको रोहवरमा खाल्डो खनेर पुरिएको छ।

सशस्त्र प्रहरीका डीएसपी प्रेमसागर विष्टका अनुसार सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण गर्न सूक्ष्म निगरानी बढाइएको छ।

अवैध कुखुरा नष्ट गरिएसँगै यस्तो कारोबारमा संलग्न व्यक्तिहरूलाई निरुत्साहित गर्न सहयोग पुग्ने डीएसपी विष्टले बताएका छन्।

एमालेको प्रमुख सचेतकमा ऐन महर नियुक्त

काठमाडौं। नेकपा एमालेको प्रमुख सचेतकमा ऐन महर चयन भएका छन्।

संसदीय दलका नेता रामबहादुर थापाले उनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।

महर बझाङबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

नियुक्तिपछि उनले जिम्मेवारी पाउँदा खुसी लागेको बताउँदै पूर्ण निष्ठा र इमानदारीका साथ दायित्व निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बालेनले देखाए सत्ताको तुजुक, निमुखा जनताको उठिबास

काठमाडौं । निमुखा जनतामाथि बालेन सरकारले तुजुक देखाएको छ । सनकका भरमा उनले सुकुम्बासीहरूलाई उठिबास लगाएका छन् । उनको यो कदमको चौतर्फी विरोध भएको छ ।

सार्वजनिक जग्गा संरक्षणको नाममा निमुखा सुकुम्बासीलाई व्यवस्थापन भन्दा पनि उठिबास लगाउने उनको कदमलाई हिजो सुकुम्बासी बस्तीमा डोजर चले छाती थाप्छु भनेर झुट बोलेका रास्वपा सभापति रवि लामिछानेले चुपचाप समर्थन गरेका छन् ।

हुकुमबासीलाई हटाउने बहानामा वास्तविक सुकुम्बासीहरू पीडित भएका छन् । यसको विरोध गर्दै हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका सांसद आरेन राई उठिबासमा परेपछि बिल्लिबाठ भएका सुकुम्बासीहरूको न्यायको कित्तामा उभिएका छन् ।

अध्यक्ष साम्पाङले धनी बालेनलाई गरिब सुकुम्बासीको पीडा थाहा नभएको र उनीहरूमाथि बल प्रयोग गरेर हटाउन लागेको भन्दै विरोध गरेका छन् ।

मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनल, राष्ट्रिय मानव अधिकार आयोग, नेकपा एमाले, श्रम संस्कृति पार्टीलगायत दलले सुकुम्बासीलाई बलपूर्वक जबर्जस्ती उठिबास लगाएको भन्दै कडा शब्दमा विरोध गरेका छन् ।

नेपालको संविधानमा रहेको आवासको हक हनन् गर्दै प्रधानमन्त्री बालेनले निमुखा सुकुम्बासीमाथि तुजुक देखाएको भन्दै उनीहरूलाई बलपूर्वक हटाउने कार्य अस्वीकार्य हुने चेतावनी दिएको छ ।

बालेन सरकारले शनिबार बिहानैदेखि काठमाडौंको थापाथली, सिनामंगललगायत चार क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर चलाएर हटाउने भएको छ ।

विपिन जोशीको परिवारलाई १० लाख सहयोग दिने सरकारको निर्णय(भिडियो)

काठमाडौं। सरकारले इजरायलमा अध्ययनका लागि गएका क्रममा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।

उनका अनुसार ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल गएका जोशी गाजामा भएको घटनामा परेर ज्यान गुमाएका थिए।

उनले भने ‘लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत अध्ययनका लागि इजरायल गएको अवस्थामा गाजाको घटनामा परी मृत्यु भएका विपिन जोशीको परिवारलाई १० लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ।’

सञ्चारमन्त्री र पत्रकार महासंघका महासचिवबीच बैठकमै ठाकठुक 

काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने बालेन सरकारको निर्णयविरुद्ध आन्दोलनरत नेपाल पत्रकार महासंघ र सरकारबीचको द्वन्द्व बिहीबार प्रत्यक्ष ‘चर्काचर्की’मा बदलियाे।

विज्ञापन नीतिले निजी मिडिया समाप्त पार्ने मनसाय देखिएको भन्दै आन्दोलित महासंघको टोलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग गरेको भेटघाट तनावपूर्ण बनेको हो।

गत वर्ष २३ चैतमा महासंघले मन्त्री तिमिल्सिनालाई निजी मिडियालाई तीन तहका सरकारी निकायबाट विज्ञापन रोक्ने निर्णय फिर्ता लिन मागसहित ज्ञापनपत्र बुझाएको थियो। तर बालेन सरकारबाट कुनै जवाफ आएन । यसपछि महासंघले आन्दोलन चर्काएको छ।

बिहीबारको भेटमा पनि मन्त्री तिमिल्सिना माग सम्बोधनमा अनिच्छुक देखिँदा वातावरण तातिएकाे हाे ।

सुरुमा, महासंघका महासचिव रामप्रसाद दाहालले मन्त्रीप्रति राेष प्रकट गर्दै भने,’तपाईंले आज समस्या समाधान गर्न बोलाएको होला भनेर हामी आएका हौँ। तर, तपाईंले केही गर्नुभयो जस्तो छैन। के हो यो ?’

दाहालले थप आरोप लगाए-सरकारले निजी सञ्चारमाध्यमलाई विज्ञापनबाट वञ्चित गरेर ‘मास्ने रणनीति’ अघि बढाएकाे छ।

महासचिव दाहालले मन्त्रीलाई लगातार कटाक्ष गर्दै सोधे‍औ ‘विज्ञापनमा निजी मिडियालाई सरकारले विभेद गर्न पाउँछ ?’ “कुन सिद्धान्त ? कुन ऐन–कानुन ? कहिले खोल्नुहुन्छ बन्द गरिएको विज्ञापन ?’

दाहालको तीखा प्रश्नहरू सुन्दा मन्त्री तिमिल्सिना पनि मौन बस्न सकेनन् ।

उनले मिडियामाथि प्रश्न उठाउँदै प्रतिवाद गरे‍‍‍‍- ‘सरकारी विज्ञापनमा व्यापक भ्रष्टाचार छ, त्यो नियन्त्रण गर्नु पर्दैन ?’

यसपछि दाहाल झन् आक्रामक बन्द‌ै भने – ‘त्यो छानबिन गर्नुस्। हामी दोषी ठहरियौँ भने थुन्नुस्। तर भ्रष्टाचारको बहानामा निजी मिडिया बन्द गर्न पाइँदैन।’

मन्त्री तिमिल्सिनाले दाहालको निरन्तर दबाबपछि भने- ‘हामी गर्दैछौँ, गर्दैछौँ त। नगरेको किन भन्नुहुन्छ ? पहिले आन्दोलन रोक्नुहोस्।’

दाहालको सिधा जवाफ,’पहिले समाधान, अनि आन्दोलन फिर्ता। आन्दोलन रोक भन्नुहुन्छ ? यो भेट नै आन्दोलन हो।’

यतिमा बैठक यति तात्यो कि दुवैपक्षबीच शब्द-झडप नै भएको थियो।

महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारी विज्ञापन निजी मिडियामाथि रोक लगाउने निर्णय संविधानको प्रेस स्वतन्त्रता, संघीयता र खुला बजार नीतिको मर्मविपरीत भन्दै तुरुन्तै निर्णय खारेज गर्न माग गरिन्।

नेप्से लाग्यो उकालो

काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले वृद्धि भएको छ। यस दिन नेप्से परिसूचक १.५४ अंकले बढ्दै २७८८.७० विन्दुमा पुगेको छ।

अघिल्लो कारोबार दिन नेप्से १७.०१ अंकले घटेको थियो। समग्रमा यो साता बजारमा गिरावट देखिएको छ। नेप्सेका अनुसार यो साता बजार ४९.७ अंकले घटेको हो। गत साताको अन्तिम कारोबार दिन नेप्से २८३८.४० विन्दुमा थियो।

यस दिन कारोबार रकम भने सामान्य वृद्धि भएको छ। अघिल्लो दिन ५ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ५ अर्ब २७ करोड रुपैयाँ पुगेको छ।

नेप्सेका अनुसार आज १६८ कम्पनीको सेयर मूल्य घट्दा ८७ कम्पनीको बढेको छ। यसैगरी, तीन कम्पनी-पाल्पा सिमेन्ट, शिखर पावर र माईखोला हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट (१५ प्रतिशत) लागेको छ।

प्रज्ञा पुरस्कार १२ जनालाई

काठमाडौं। नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको प्रज्ञा पुरस्कारअन्तर्गत ‘प्रज्ञा पुरस्कार-२०८२’ का विजेताहरूको नाम सार्वजनिक गरिएको छ।

भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिकशास्त्रलगायत विभिन्न विधाबाट पुरस्कृत हुनेहरूको सूची बिहीबार प्रतिष्ठानले सार्वजनिक गरेको हो। यसपटकदेखि प्रज्ञा प्रादेशिक पुरस्कारसमेत प्रारम्भ गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिअनुसार जनही एक लाख रुपैयाँ राशिको प्रज्ञा पुरस्कार १२ जनालाई प्रदान गरिनेछ।

समालोचनातर्फ प्रा. डा. अभि सुवेदी, भाषातर्फ प्रा. मुकुन्दशरण उपाध्याय, सामाजिकशास्त्रतर्फ डा. डम्बर चेम्जोङ, पद्य साहित्यतर्फ शैलेन्द्र साकार, संस्कृतितर्फ प्रा. डा. सोमप्रसाद खतिवडा, बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग, गद्य साहित्यतर्फ आहुति, दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली, अनुवादतर्फ डा. सर्वोत्तम श्रेष्ठ, अन्तर्देशीयतर्फ नरेश काङ्माङ राई (बेलायत), मातृभाषा (हिमाली-पहाडी) तर्फ बुद्ध योञ्जन र मातृभाषा (मधेस-तराई) तर्फ अमरेन्द्रकुमार यादवलाई पुरस्कार प्रदान गरिने भएको छ।

यसैगरी, जनही ५० हजार रुपैयाँ राशिको प्रज्ञा प्रादेशिक पुरस्कार पहिलोपटक ७ जनालाई प्रदान गरिने भएको छ।

कोसी प्रदेशबाट मलिसा याक्थुम्बा लिम्बू (महेन्द्रकुमार नेम्वाङ), मधेस प्रदेशबाट मुना चौधरी, बागमती प्रदेशबाट शान्ति प्रिय बन्दना, गण्डकी प्रदेशबाट अनिल श्रेष्ठ, लुम्बिनी प्रदेशबाट क्षितिज मगर, कर्णाली प्रदेशबाट रमानन्द आचार्य र सुदूरपश्चिम प्रदेशबाट कर्ण दयाल सोडारीलाई पुरस्कार प्रदान गरिनेछ।

उक्त पुरस्कारहरू यही वैशाख १७ गते नेपाल प्रज्ञा–प्रतिष्ठानको सिद्धिचरण सभाकक्ष, कमलादी, काठमाडौँमा आयोजित कार्यक्रममा प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ।

थापाथली सुकुमवासी बस्ती पुगेर फर्किंदा (भिडियो)

काठमाडौं । हामी बिहान करिब १० बजेतिर थापाथली सुकुमवासी बस्ती पुग्यौँ। बस्ती सधैँ झैँ देखिएन। डोजर लगाएर बस्ती खाली गर्ने सरकारको निर्णयमा बस्तीका नागरिकहरू आजित छन्। हामी त्यहाँ पुग्दा विभिन्न समूहमा बसेका व्यक्तिहरू ‘के गर्ने होला?’ भन्दै गाइगुइ गरिरहेका थिए। 

बिहिबार साँझ प्रहरीले बस्तीमा बसोबास गर्ने नागरिकलाई बस्ती खाली गर्न भन्दै माइकिङ गर्यो। रातभर बस्तीका नागरिकहरू नसुतेर बसेको बताउँछन्। सरकारले सुकुमवासी हरूको पहिचान नगरी नै धमाधम बस्ती भत्काउने योजना बनाएकोमा बस्तीका नागरिक दुःखी र क्रोधित देखिन्छन्।

शुक्रबार बिहान थापाथली सुकुमवासी बस्ती त्रासमा देखियो। प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले सुकुम्वासी बस्ती हटाउने निर्देशन दिएकोपछि बस्तीमा बसोबास गरिरहेका नागरिक अलमल्लमा थिए। ‘कहाँ जाने, के गर्ने, कसरी जाने, कता बस्ने केही टुङ्गो छैन’, उनीहरुले गुनासो पोखे।

बस्तीका नागरिकसँग गरेको अनौपचारिक कुराकानी अनुसार, बस्तीका धेरै नागरिक रातभर रोएर बसेका छन्। खाना खाएका छैनन्। सरकारको बस्ती हटाउने निर्देशनको डरले नियमित काम जाने मानिसहरू अहिले काम पनि गएका छैनन्। ‘यसरी सरकारले व्यवस्थापन गर्छ रे?’, उनीहरु प्रश्न गर्दै थिए ।

प्रहरीको माइकिङपछि कतिपय नागरिकले घर छोड्ने मनसाय बनाएका छन्। त्यसैका लागि उनीहरूले बिहानै घरभित्रबाट सामान ओसारिरहेका थिए। ‘काम गर्ने ठाउँमा लिएर सामान राख्ने सोचेकी छु। यहाँ राखिराख्यो भने सरकारले ध्वस्त गरिदिने रहेछ,’ घरबाट सामान निकालिरहेकी मिना चेम्जोङले भनिन्।

केही व्यक्तिले घरको जस्ता निकाल्दै थिए। मानौँ, भएको घर भत्काएर उनीहरु त्यही ठाउँमा नयाँ घर बनाउदै छन्। सरकारले भत्काउने तयारी गरेपछि जस्ता पनि ओसार्ने उनीहरुको योजना रहेछ।  तर, लिएर कहाँ जाने, कहाँ राख्ने अत्तोपत्तो नभएको उनीहरु बताउछन्। 

बस्तीमा चारवटा जति सामान ओसार्ने गाडी थिए। अरु केही गाडी बस्तीबाट सामान लिएर बाहिरिदै थिए। केही गाडीमा सामान लोड गरिँदै थियो।  

सुकुमवासी बस्तीमा बस्ने कतिपय नागरिकसँग नागरिकता छैन। बस्तीमै बसेर किराना पसल चलाएर गुजारा चलाउँछन् उनीहरू। सरकारले जारी गरेको सूचनाका बारेमा कतिजनालाई थाहा नै छैन।

‘मसँग नागरिकता पनि छैन। यहीँ पर सानोतिनो पसल चलाएर गुजारा गर्छु। यस्तो हतारोमा सरकारले बस्ती हटाउने काम नगरेको भए हुन्थ्यो,’ बस्ती छेउमा पसल चलाउने रस्मिला उप्रेतीले भनिन्।

शान्ती मगर सुकुम्वासी बस्तीमा बसेको २३ वर्ष भयो। उनको घरमा ४ जना स-साना छोराछोरी छन्। उनी भन्छिन्, ‘रातभर सुतेको छैन। बच्चाहरू रोइरहेका छन्। खाना खाएको छैन।’

थापाथली सुकुमवासी बस्तीमा अहिले १ सय ४६ घर छन्। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले पनि सुकुमवासी बस्तीमा डोजर पठाएका थिए। त्यसपछि केही सुकुमवासी नागरिकले बस्ती छाडेर गए। कतिले आफ्नो जोहो आफैँ गरे। कतिले सरकारले उपलब्ध गराएको राहत लिएर गए। तर जो भाग्न सकेनन्, उनीहरू त्यहीँ बसे। अहिले सरकारले तिनै १ सय ४६ घरधुरीलाई खाली गराउन लागेको हो।

बस्तीमा हामीले कुराकानी गर्दै गयौँ। हामीसँग कुरा गर्ने अधिकांशले सरकारको यो कदम अस्वाभाविक भएको प्रतिक्रिया दिए। ‘हामीले अवरोध गरेका छैनौँ तर व्यवस्थापन त हुनुपर्यो। बस्तीमा अपाङ्ग छन्, बालबच्चा छन्, बिरामी छन्। कसरी व्यवस्थापन गर्ने?’, ‘उत्पीडित सुकुमवासी समिति’का अध्यक्ष मीनकुमार राना मगरले भने।

हामीले कतिपयलाई सञ्चारमाध्यमसँग कुरा गर्न पनि डर लागिरहेको पायौँ। उनीहरूलाई मिडियामा आएर बोल्दा सरकारले समात्छ कि भन्ने डर पनि रहेछ। ‘बुधबार राति १० बजेतिर प्रहरीले आएर यहाँ छापा मार्यो। बस्तीका आधा मान्छे त सुतिसकेका थिए। बस्तीमा महिला छन्, बालबालिका छन्। अधिकांश घरका पुरुषहरू रोजगारीका लागि बाहिर छन्। प्रहरीले रातिराति आएर बालबच्चालाई आतंकित बनायो,’ तिनैमध्येकी एकजनाले भनिन्।

कतिपयलाई सञ्चारमाध्यमसँग बोल्नु नै छैन। उनीहरू मिडियासँग रिसाएका जस्ता देखिन्थे। मिडियालाई उनीहरूले रिसाउँदै भिडियो नखिच्न भनिरहेका थिए। ‘यहाँ आफ्नै बेहाल हुने भइसक्यो। कति बोल्नु? बोल्दा-बोल्दा वाक्क भइसकियो। तपाईंहरूलाई भिडियो नखिच्नु भनेको सुन्नुभएन?’, सामान ओसारिरहेका नविन रानामगरले भने।

करिब ११ बजे नागरिकहरू सरकारले दिएको निर्देशनको विरोधमा थापाथली सुकुम्वासी बस्ती छेउको प्रहरी बिट अगाडि प्रदर्शनमा उत्रिए। बस्तीको एक छेउमा नागरिकहरू रूदै सामान ओसारिरहेका थिए भने अर्को छेउमा प्रदर्शन गरिरहेका थिए। ‘डोजर होइन-न्याय देउ, गरिबमाथिको अन्याय बन्द गर, सुकुम्वासीलाई जग्गा र लालपुर्जा देउ’, उनीहरूको प्रदर्शनमा सुनिन्थ्यो।

सुकुमवासी बस्तीलाई हतारोमा खारेज गर्ने सरकारको तयारीमा विभिन्न जेनेजी समूहले पनि असन्तुष्टि जनाएका छन्। उनीहरू सुकुमवासी बस्ती पुग्दा त्यहाँ प्रदर्शन सुरु भइसकेको थियो। बस्तीवासीको समर्थनमा थापाथली पुगेका उनीहरू पनि विरोध प्रदर्शनमै सामेल बने।

सरकारको यो तयारी अमानवीय र अव्यावहारिक भएको जेनेजी अभियन्ता उपार्जुन चाम्लिङ बताउँछन्। ‘संवैधानिक हिसाबले पनि, राजनीतिक हिसाबले पनि, व्यावहारिक हिसाबले पनि र नैतिक हिसाबले पनि सरकारको यो निर्णय अस्वीकार्य छ,’ उनले नेपालवन एचडीसँग भने। पहिले पनि अहंकार देखाएर सुकुम्वासी बस्ती हटाउन खोजेको उनको धारणा छ।

उनका अनुसार, ‘स्वच्छ भावनाले काम गर्दा सरकारले धेरै काम गर्न सक्थ्यो। तर अहंकारको दम्भमा मानवताको समेत ख्याल नगरी काम गर्दा सरकार नै पतनको बाटोमा पुग्छ।’

यो भन्दा पहिले पनि काठमाडौँ महानगरको मेयर हुँदा बालेनले सुकुम्वासी बस्तीमा डोजर पठाएका थिए। तर बस्तीवासीको प्रतिरोध र अदालतको आदेशले त्यतिबेला उनको योजना पूरा हुन पाएन।

युक्रेनी आक्रमणपछि रुसको तेल प्रशोधन केन्द्र तहसनहस

एजेन्सी। किएभले सोमबार दक्षिणी शहर तुआप्सेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेपछि ठूलो आगलागी भएको छ, जसका कारण रुसको तटीय शहरको आकाशमा बाक्लो कालो धुवाँ फैलिएको रूसी अधिकारीहरूले बताएका छन्।

स्थानीय अधिकारीहरूका अनुसार रुसले ‘ब्ल्याक सी’ क्षेत्रस्थित पेट्रोलियम प्रशोधन केन्द्रमा युक्रेनले गरेको आक्रमणपछि दन्किएको आगो निभाउन निरन्तर प्रयास गरिरहेको छ।

क्षेत्रीय आपतकालीन मुख्यालयले बिहीबार एएफपीलाई दिएको जानकारीअनुसार, ‘तुआप्से तेल प्रशोधन केन्द्रका चारवटा भण्डारण ट्याङ्कीमा आगलागी भएको छ र आगो अझै नियन्त्रणमा आउन सकेको छैन।’

आगलागीका कारण बुधबार विषाक्त वर्षा भएको बताइएको छ। अधिकारीहरूले हावामा विषाक्त कणहरूको मात्रा सामान्यभन्दा दुईदेखि तीन गुणा बढेको जानकारी दिएका छन्।

स्थानीय प्रशासनका अनुसार विषाक्त धुवाँको वर्षाले तटीय क्षेत्रका बस्तीहरूमा सतहमा कालोपन देखिएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका अपुष्ट तस्बिरहरूमा शहरमाथि ठूलो कालो बादल, समुद्र र किनारमा तेल फैलिएको, साथै मरेका माछा र चराचुरुङ्गीहरू देखिएका छन्। त्यस्तै, छाडा कुकुर र बिरालाहरूको शरीरसमेत कालो अवशेषले ढाकिएको देखिएको बताइएको छ।

प्रशासनले बुधबार नै स्थानीय बासिन्दालाई झ्याल बन्द राख्न, बाहिरी गतिविधि सीमित गर्न र आवश्यक परे मास्क लगाउन आग्रह गरेको थियो।

छुट्टी मनाउने पर्यटकहरूबीच लोकप्रिय तुआप्से शहर यसअघि पनि युक्रेनी आक्रमणको निशानामा परेको थियो।

युक्रेनले पछिल्ला हप्ताहरूमा रूसको ऊर्जा निर्यात संरचनामा आक्रमण तीव्र बनाउँदै आएको छ, जसलाई उसले रूसी सैन्य क्षमताको प्रमुख आर्थिक स्रोत कमजोर पार्ने रणनीति बताएको छ।

कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सिरोहियाले दिए राजीनामा

काठमाडौं। कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले पदबाट राजीनामा दिएका छन्। उनले बिहीबारदेखि लागू हुने गरी आफ्नो जिम्मेवारी त्यागेको जानकारी आन्तरिक सन्देशमार्फत कर्मचारीहरूलाई दिएका हुन्।

उनले पछिल्लो समय संस्थाबाट प्रकाशित सामग्री, विशेषगरी पूर्व गृहमन्त्री सुधन गुरुङसँग जोडिएका समाचारप्रति असन्तुष्टि जनाउँदै राजीनामाको निर्णय लिएको उल्लेख गरेका छन्। उनका अनुसार पुष्टि नभएका विषयलाई अतिरञ्जित ढंगले प्रस्तुत गर्नु पत्रकारिताको मान्यतासँग मेल नखाने कुरा हो।

‘आफूले स्वीकार नगरेको शैलीको पत्रकारितासँग आफ्नो नाम जोडेर अगाडि बढ्न सम्भव छैन,’ उनले सन्देशमा उल्लेख गरेका छन्। सम्बन्धित समाचारहरू अनुसन्धान निकायका स्रोतलाई उद्धृत गर्दै सार्वजनिक गरिएका भए पनि पर्याप्त पुष्टि बिना प्रस्तुत हुँदा नयाँ सरकारमाथि अनावश्यक दबाब सिर्जना भएको उनको तर्क छ।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले ती समाचारका अंश साझा गर्दै ‘यो कुनै उद्देश्यपूर्ण पत्रकारिता जस्तो देखिन्छ, तर त्यसको पृष्ठभूमि स्पष्ट छैन’ भन्दै टिप्पणी गरेका थिए।

उनले आफ्नो कार्यकालतर्फ फर्कँदै आफू जिम्मेवारीमा आउँदा संस्थाको आर्थिक अवस्था कमजोर भए पनि पछिल्ला प्रयासले सुधारको बाटो समातेको बताएका छन्। त्यसका लागि योगदान गर्ने सम्पूर्ण टोलीप्रति उनले आभार व्यक्त गरेका छन्।

१ असोज २०८० मा नेतृत्व सम्हालेका सिरोहियाले हालै संगठनभित्र आफ्ना विश्वासपात्रहरूलाई प्रमुख जिम्मेवारीमा ल्याउने तथा लगानी विस्तार गर्ने कदम समेत चालेका थिए। यिनै परिवर्तनबीच आएको उनको राजीनामाले संस्थाभित्रको अवस्था र सम्पादकीय अभ्यासबारे थप बहस उत्पन्न गरेको छ।

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सेवा सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस लिमिटेडबीच ‘नेपाल पे कार्ड’ सम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र क्लियिरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले नेपाल पे कार्डसम्बन्धी सेवाहरू उपभोग गर्न पाउने बैंकका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीले जानकारी दिए।

२०२२ माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७७ वटै जिल्लामा ३१४ शाखा कार्यालय, ७१ एक्सटेन्सन काउन्टर, ३३२ एटिएम र ९९ शाखारहित बैंकिङमार्फत ४७ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ।