`

‘काजी’ र ‘मितज्यू’ ले कति कमाए ?

काठमाडौं। अभिनेता विपिन कार्की र केकी अधिकारी अभिनीत फिल्म काजी ले घरेलु बक्स अफिसमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको देखिएको छ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको शनिबार राति १२ बजेसम्मको बक्स अफिस विवरणअनुसार ‘काजी’ले हालसम्म ४० लाख ८८ हजार १७५ रुपैयाँ ग्रस आम्दानी गरेको छ। फिल्मलाई यो अवधिसम्म १३ हजार ७ दर्शकले हेरेका छन्। चलचित्र गत जेठ ८ गते प्रदर्शनमा आएको थियो।

उही मितिमा रिलिज भएको मितज्यू भने बक्स अफिसमा बलियो देखिएको छ। बोर्डको तथ्यांकअनुसार फिल्मले हालसम्म १ करोड २० लाख ५९ हजार ८२ रुपैयाँ ग्रस कलेक्सन गरेको छ भने ४१ हजार २४८ दर्शकले फिल्म हेरेका छन्।

‘मितज्यू’मा दयाहाङ राई, सौगात मल्ल र टेरिया मगर लगायतका कलाकारको अभिनय रहेको छ।

बक्स अफिस तथ्यांकले रिलिजको सुरुआती चरणमै ‘मितज्यू’ले दर्शक आकर्षित गर्न सफल भएको देखाउँदा ‘काजी’ले भने अपेक्षित दर्शक संख्या जुटाउन संघर्ष गरिरहेको संकेत गरेको छ।

चीन-अमेरिका प्रविधि तनाव : एआई चिप निर्यातमा ‘लुपहोल’ बन्द

एजेन्सी। अमेरिकी वाणिज्य विभागले चीनसँग सम्बन्धित कम्पनीहरूलाई लक्षित गर्दै एआई चिप निर्यात नियन्त्रणलाई थप कडा बनाएको छ।

आइतबार जारी गरिएको आकस्मिक निर्देशिकामार्फत चीन बाहिर रहेका चिनियाँ कम्पनीका सहायक संस्थाहरूले समेत अत्याधुनिक सेमिकन्डक्टर खरिद गर्न नपाउने गरी ‘लुपहोल’ बन्द गरिएको हो।

अमेरिकाले लामो समयदेखि चीनलाई उन्नत प्रविधि, विशेषगरी अत्याधुनिक चिप्स, पहुँचबाट टाढा राख्ने नीति अपनाउँदै आएको छ। तर मलेसियालगायत देशमा रहेका चिनियाँ एआई कम्पनीका सहायक संस्थाहरूले ती चिप्स वैकल्पिक बाटोबाट प्राप्त गरिरहेको आशङ्कासँगै यो कदम चालिएको बताइएको छ।

रोयटर्सले उल्लेख गरेको एक प्रतिवेदन सार्वजनिक भएपछि वाणिज्य विभागअन्तर्गतको ‘ब्युरो अफ इन्डस्ट्री एन्ड सेक्युरिटी’ (बीआईएस) ले तत्काल नयाँ निर्देशिका जारी गरेको हो। उक्त प्रतिवेदनमा अत्याधुनिक चिप्स निर्यातका लागि ‘चोर बाटो शान्त रूपमा खुला रहेको’ उल्लेख गरिएको थियो।

विश्लेषकहरूका अनुसार विगत एक वर्षमा यस प्रकारको मार्ग प्रयोग गरेर ठूलो मात्रामा चिप्स बाहिरिएको हुन सक्ने अनुमान गरिएको छ, जसको संख्या लाखौँसम्म हुन सक्ने बताइएको छ।

नयाँ नियमअनुसार अब चीनमा मुख्यालय रहेका तर अन्य देशमा सञ्चालनमा रहेका चिनियाँ कम्पनीका सहायक निकायहरूले पनि उन्नत चिप्स किन्नुअघि अमेरिकी निर्यात अनुमति लिनुपर्नेछ।

बीआईएसका प्रवक्ताले यो निर्देशन नयाँ नीति नभई सन् २०२३ देखि लागू निर्यात अनुमति प्रणालीलाई थप स्पष्ट पारिएको मात्र भएको बताएका छन्। उनले अमेरिकी प्रविधिको सुरक्षा सुनिश्चित गर्न निर्यात नियन्त्रण कडा रूपमा लागू गरिने पनि स्पष्ट पारे।

यसैबीच, अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका एक अधिकारीले नयाँ निर्देशिकाले कम्पनीको कार्यप्रणालीमा ठूलो असर नपार्ने प्रतिक्रिया दिएका छन्। तर अर्को प्रमुख कम्पनी एएमडीले भने यस विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

यो कदमले अमेरिका-चीनबीचको प्रविधि प्रतिस्पर्धा र एआई चिप आपूर्ति शृंखलामा थप तनाव बढाउने अनुमान गरिएको छ।

१५ मिनेटका लागि स्थगित संसद अझै चलेन

काठमाडौं। नेपाल-भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले कडा आपत्ति जनाउँदै बैठक अवरुद्ध गरे।

विपक्षी सांसदहरूले सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई उक्त अभिव्यक्तिबारे रुलिङ गर्नुपर्ने माग गर्दै सदन सञ्चालनमा अवरोध गरेका हुन्।

उनीहरूले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याउनुपर्ने र त्यसबारे संसदमा औपचारिक जवाफ दिनुपर्ने अडान राखेका छन्।

नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने दाबी गरेको विषयलाई गम्भीर भन्दै यसबारे प्रधानमन्त्रीलाई रोष्ट्रमबाट स्पष्टिकरण दिनुपर्ने माग गरे।

उनले सभामुखले तत्काल रुलिङ गर्नुपर्ने आवश्यकता रहेको बताए।

त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण भन्दै आपत्ति जनाए। उनले नेपालले कसैको भूमि नमिचेको स्पष्ट पार्दै प्रधानमन्त्रीले आफ्ना भनाइका लागि माफी माग्नुपर्ने धारणा राखे।

महरले यस्ता संवेदनशील विषयमा बोल्दा अध्ययन र प्रमाण आवश्यक हुने भन्दै प्रधानमन्त्रीको भनाइले गलत सन्देश गएको टिप्पणी गरे। उनले सभामुखले रुलिङ नगरेसम्म संसदको कार्यवाही अघि बढ्न नदिने चेतावनी पनि दिए।

विपक्षी सांसदहरूले लगातार नाराबाजी र विरोध जारी राखेपछि सभामुख अर्यालले १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका हुन्।

१५ मिनेटका लागि स्थगित गरिएको संसद अझै चल्न सकेको छैन।

सांसदहरु झम्टिएपछि बढाइयो सांसद र सभामुखबीचको दूरी [तस्वीरहरू]

काठमाडौं। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालले पनि भारतको भूमी मिचेको छ भनेपछि नै आक्रोशित भएर बसेको प्रतिपक्षी दल आइतवार  बेलुकासम्म सभामुखसँग झम्टिन पुग्यो।

कार्यसूची अनुसारको नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि छलफलका क्रममा सत्ता र प्रतिपक्षी सांसदबीच धकेलाधकेल भयो।

सभामुख डोलप्रसाद अर्यालले संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरेपछि विपक्षी सांसदहरूले विरोध जनाउँदै बैठकको वातावरण तनावपूर्ण बनेको हो।

सभामुख अर्यालले कार्यसूचीअनुसार संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न थालेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू उठेर विरोध जनाउँदै ‘वेल’ घेराउमा उत्रिए।

विपक्षी सांसदहरूले नियमावलीको मस्यौदालाई समितिमै थप छलफल गरेर मात्रै सदनमा ल्याउनुपर्ने माग गर्दै तत्काल निर्णय प्रक्रियामा लैजान नहुने अडान राखेका थिए।

तर सभामुखले कार्यसूचीअनुसार अघि बढ्ने संकेत गरेपछि विपक्षीको अवरोध चर्किएको थियो। सोही क्रममा सत्ता पक्षका सांसदहरू पनि आसनबाट उठेर ‘वेल’ क्षेत्रमा पुगेपछि दुवै पक्षका सांसदबीच धकेलाधकेल र सामान्य घम्साघम्सीको स्थिति सिर्जना भएको थियो।

अवस्था नियन्त्रणभन्दा बाहिर जान थालेपछि सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगन गरेका थिए। केही समयपछि बैठक पुनः सुरु भए पनि मर्यादापालक सुरक्षाकर्मीले सभामुखलाई घेरेर सुरक्षासहित बैठक सञ्चालन गरिएको थियो।

त्यसअघि नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिवेदनमाथि दफावार छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। जसलाई सभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको थियो।

बैठकमा सभामुखले मस्यौदामाथि ३५ वटा संशोधन सूचना प्राप्त भएको जानकारी समेत दिएका थिए।

उक्त तनावपूर्ण वातावरणमै सभामुखले सभा अन्त्य गरेका थिए। सोही घटना नदोहोरियोस् भन्ने हेतुले सोमवार सभामुख र सांसदहरुको दूरी बढाइएको छ।
तस्वीरहरू:

नेपालले भारतको भूमि मिचेको प्रमाण खोइ ? – राप्रपा

काठमाडौं।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले संसदमा दिएको अभिव्यक्तिको प्रमाण पेस गर्न माग गरेका छन्।

सोमबार  प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने दाबी गरेको विषयलाई गम्भीर भन्दै त्यसको आधार र प्रमाण सार्वजनिक गर्नुपर्ने बताएका हुन्।

उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति तथ्य र प्रमाणबिना आएको हो भने त्यसलाई संसदको अभिलेखबाट हटाउन सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग  माग गरे।

शाहीले भने, ‘प्रधानमन्त्रीका तथ्यबिना बोलिएको अभिव्यक्ति रेकर्डबाट हटाउनका लागि अपिल गर्छु।’

उनले प्रधानमन्त्रीको भनाइलाई सामान्य चिया-चौतारीको गफसँग तुलना गर्न नमिल्ने भन्दै यस्तो संवेदनशील विषयमा जिम्मेवार र प्रमाणित अभिव्यक्ति आवश्यक हुने बताए।

उनका अनुसार राज्यको कार्यकारी प्रमुखले संसदजस्तो सर्वोच्च मञ्चमा बोलेको विषयले अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय हितमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले हल्का रूपमा लिन नहुने धारणा राखे।

प्रधानमन्त्रीको भनाइ ‘भारतलाई उपहार’ भएको नेकपाको आरोप

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिलाई लिएर कडा आपत्ति जनाएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको भनाइ ‘भारतलाई उपहार’ जस्तो भएको हो कि भन्ने संशय उत्पन्न भएको बताएका हुन्।

दुलालले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिनु गम्भीर विषय भएको उल्लेख गरे। उनका अनुसार यस्तो अभिव्यक्तिले कूटनीतिक रूपमा गलत सन्देश जाने खतरा रहेको छ।

उनले भने, ‘यो भारतलाई दिएको उपहार त होइन भन्ने संशय पैदा भएको छ। देशका लागि आवश्यक परे जीवनको बलि दिनुपर्छ भने प्रधानमन्त्रीले गलत, भ्रामक अभिव्यक्ति गरेको स्वीकार गर्दै फिर्ता लिनुपर्छ।’

दुलालले प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याएर सार्वजनिक रूपमा स्पष्टता नदिएसम्म संसदको कार्यवाही अघि बढाउन उपयुक्त नहुने धारणा पनि राखे।

प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि कांग्रेसको आपत्ति

काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिलाई लिएर कडा आपत्ति जनाएको छ।

सोमबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसले उक्त भनाइलाई ‘आत्मघाती’ भन्दै प्रधानमन्त्रीबाट औपचारिक स्पष्टीकरण माग गरेको हो।

कांग्रेस सचेतक निश्कल राईले बैठकमा बोल्दै प्रधानमन्त्रीले भारतको भूमि नेपालले मिचेको भन्ने अभिव्यक्ति कुनै तथ्य र प्रमाणबिना आएको भन्दै त्यसले गम्भीर प्रश्न उठाएको बताए। उनले प्रधानमन्त्रीलाई रोष्ट्रमबाट स्पष्ट जवाफ दिनुपर्ने माग गरे।

उनले भने, ‘सस्तो लोकप्रियता, सदनको गरिमा र बिना कुनै तथ्य प्रमाणमा यस्ता आत्मघाती अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्नुभएको हो ? के स्वार्थ पूरा गर्न चाहनुभएको हो ? यसको जवाफ हामीलाई सम्माननीय प्रधानमन्त्रीज्यूले रोष्ट्रमबाट दिनुपर्छ, अनिमात्र सदनमा सहकार्य गर्न सकिन्छ।’ उनले थप्दै भने, ‘हाम्रो राष्ट्रियतामाथि कार्यकारी प्रमुखले बोलेको धावा करेक्सन नभएसम्म सदनमा अगाडि सहकार्य गर्न सकिँदैन। रुलिङ होस् सभामुख महोदय।’

सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘राष्ट्रहितविपरीत’ भन्दै त्यसबारे सभामुखले रुलिङ गर्नुपर्ने मागसमेत गरे।

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान

काठमाडौं।  प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक सुरु भएलगत्तै प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले आइतवार संसदमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग गर्दै विपक्षी सांसदहरूले आपत्ति जनाएका हुन्।

प्रधानमन्त्री शाहले नेपालले भारतको सीमा मिचेको भन्ने आशयको विवादित अभिव्यक्ति दिएको विषयलाई लिएर विपक्षी दलका सांसदहरूले असन्तुष्टि जनाउँदै बैठकमा विरोध जनाएका हुन्।

उनीहरूले उक्त अभिव्यक्तिलाई गम्भीर कूटनीतिक संवेदनशीलताको विषय भन्दै तत्काल सच्याउन र संसदको अभिलेखबाट हटाउन माग गरेका छन्।

विपक्षी सांसदहरूले उठेर विरोध जनाएपछि बैठक केही समयका लागि तनावपूर्ण बनेको थियो। उनीहरूले प्रधानमन्त्रीबाट रोष्ट्रममार्फत स्पष्ट स्पष्टीकरण आउनुपर्ने अडान पनि दोहोर्याएका छन्।

इबोला नियन्त्रणमा यात्रा प्रतिबन्ध हटाउन डब्लुएचओको आग्रह

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले इबोला प्रकोपका कारण प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) र युगान्डामाथि लगाइएका यात्रा प्रतिबन्ध तथा सीमा नाका बन्द गर्ने निर्णय पुनर्विचार गर्न सम्बन्धित देशहरूलाई आग्रह गरेका छन्।

कंगोको उत्तरपूर्वी इतुरी प्रान्तको राजधानी बुनियामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्ता प्रतिबन्धहरूले महामारी नियन्त्रणका प्रयासलाई थप जटिल बनाउने बताए।

उनका अनुसार यात्रा रोकावटले पारदर्शिता घटाउने मात्र होइन, मानवीय जीवन बचाउन आवश्यक पर्ने आपसी विश्वासमा समेत असर पुर्‍याउँछ।

टेड्रोसले इबोला प्रभावित समुदायसँग प्रत्यक्ष संवाद गर्न तथा अवस्था बुझ्न आफू प्रभावित क्षेत्रमा पुगेको उल्लेख गर्दै बिरामीहरूले समयमै गुणस्तरीय स्वास्थ्य सेवा पाएमा निको हुने सम्भावना रहने बताए। हालसम्म इबोला विरुद्ध आधिकारिक खोप वा विशेष औषधि पूर्ण रूपमा उपलब्ध नभएको पनि उनले स्पष्ट पारे।

यसैबीच, कंगो र युगान्डामा संक्रमणका नयाँ तथ्यांक सार्वजनिक भएका छन्। युगान्डाको स्वास्थ्य मन्त्रालयका अनुसार राजधानी कम्पालामा थप दुई नयाँ संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या नौ पुगेको छ।

कंगोका स्वास्थ्य मन्त्री रोजर काम्बाले हालसम्म ९०० नमुना परीक्षण गरिएकोमा २६० जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। उनका अनुसार देशले अब दैनिक २०० देखि ३०० नमुना परीक्षण गर्न सक्ने क्षमता विकास गरेको छ।

मन्त्री काम्बाले विगतको अनुभव र भाइरसको प्रकृतिका आधारमा आगामी चारदेखि छ महिनाभित्र महामारी नियन्त्रण गर्ने लक्ष्य राखिएको बताएका छन्। साथै, इतुरी, उत्तर किभु र दक्षिण किभु प्रान्तमा भाइरसलाई सीमित राख्ने र अन्य क्षेत्रमा फैलिन नदिने सरकारको मुख्य प्राथमिकता रहेको उनले स्पष्ट पारे।

डब्लुएचओले भने यात्रा प्रतिबन्धभन्दा पनि परीक्षण, सम्पर्क ट्रेसिङ र स्वास्थ्य सेवा सुदृढीकरणलाई प्राथमिकता दिन आग्रह गरेको छ।

मलेसियाद्वारा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

एजेन्सी।मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै नयाँ कानुनी व्यवस्था लागू गरेको छ।

सोमबारदेखि कार्यान्वयनमा आएको उक्त नियमअनुसार अब १६ वर्षमुनिका बालबालिकाले व्यक्तिगत सामाजिक सञ्जाल खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन्।

नयाँ व्यवस्थाले सामाजिक सञ्जाल कम्पनीहरूलाई प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्ने दायित्व दिएको छ। साथै, १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई खाता दर्ता गर्न नदिने र त्यस्ता खाताहरू पहिचान गरी रोकथाम गर्ने जिम्मेवारी पनि सम्बन्धित कम्पनीहरूकै हुने व्यवस्था गरिएको छ।

यो नियम फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युबलगायत लाखौं प्रयोगकर्ता भएका प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूमा लागू हुनेछ। नियम पालना नगर्ने कम्पनीहरूलाई १ करोड मलेसियन रिंगिटसम्म जरिवाना गर्न सकिने प्रावधान राखिएको छ।

मलेसिया सरकारले बालबालिकालाई अनलाइन माध्यमबाट फैलिने हानिकारक सामग्री, साइबर दुर्व्यवहार, मानसिक दबाब तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट जोगाउने उद्देश्यले यस्तो कदम चालेको जनाएको छ। पछिल्ला वर्षहरूमा डिजिटल माध्यमसँग सम्बन्धित जोखिम बढ्दै गएपछि कडा नियमन आवश्यक भएको सरकारको भनाइ छ।

यद्यपि, बालबालिकाले विभिन्न उपाय अपनाएर नियम छल्दै खाता खोलेको अवस्थामा अभिभावकलाई कुनै कानुनी कारबाही गरिने छैन। सरकारको ध्यान मुख्य रूपमा सामाजिक सञ्जाल कम्पनीहरूलाई उत्तरदायी बनाउनेतर्फ केन्द्रित रहेको बताइएको छ।

मलेसियाको सञ्चार तथा बहुमाध्यम आयोगले यो नीति बालबालिकालाई इन्टरनेटबाट टाढा राख्ने उद्देश्यले नभई उनीहरूका लागि सुरक्षित, जिम्मेवार र उमेरअनुकूल डिजिटल वातावरण निर्माण गर्न ल्याइएको स्पष्ट पारेको छ।

मलेसिया यस्तो कदम चाल्ने विश्वका सीमित देशहरूमध्ये एक बनेको छ। यसअघि अष्ट्रेलिया, ब्राजिल र इन्डोनेसियाले पनि बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियम लागू गरिसकेका छन्। बेलायत, फ्रान्स, स्पेन, डेनमार्क, थाइल्यान्ड र दक्षिण कोरियालगायत देशहरूले पनि यस्तै नीतिगत व्यवस्था लागू गर्ने तयारी गरिरहेका छन्।

डिजिटल युगमा बालबालिकाको सुरक्षा र गोपनीयता विश्वव्यापी चासोको विषय बन्दै गएको अवस्थामा मलेसियाको यो निर्णयलाई सामाजिक सञ्जाल नियमनतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

‘पिर्के सलामी’ लिने रास्वपा सांसद ‘आशा झा’ विवादित

काठमाडौं। जान्नेलाई छान्ने र परम्परा तोडेर नयाँ थिति बसाल्न आएको भन्ने दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) अहिले विवादको राडरमा छ।

मेरो गोरुको बाह्रै टक्का भएर सेल्फ डिफेन्समा उत्रने रास्वपा अहिले चौतर्फी विवादले घेरीदाँ चक्रव्यूहमा फसेको अभिमन्यु झैँ भएका हुन्।

हुन त लोकतन्त्रमा जनप्रतिनिधि जनतामाझ उत्तरदायी र समान हैसियतका सेवक मानिन्छन्।

तर समय-समयमा सार्वजनिक हुने केही दृश्य र घटनाले राजनीतिक संस्कार तथा राज्य संयन्त्रमा अझै पनि विशेष सम्मान र शक्ति प्रदर्शनको पुरानो प्रवृत्ति बाँकी रहेको संकेत गर्छन्।

प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले आइतवार नेपालले पनि भारतको भूमी मिचेको छ भन्ने अभिव्यक्ति पछि कुनै विषयले चर्चा पाएको छ भने त्यो हो, मोरङको रंगेलीमा रास्वपाकी सांसद आशा झाले प्रहरीबाट ‘पिर्के सलामी’ लिएको दृश्य।

उक्त दृश्य,सार्वजनिक भएपछि यतिबेला सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म लोकतान्त्रिक मूल्य, जनप्रतिनिधिको आचरण र रास्वपाको चरित्रबारे नयाँ बहस सुरु भएको छ।

आइतबार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सांसद झा रातो कपडा बिछ्याइएको पिर्कामाथि उभिएकी देखिन्छिन्। भने प्रहरी टोलीले उनलाई औपचारिक सलामी दिएको देखिन्छ। भिडियो सार्वजनिक भएसँगै उक्त भिडियोले सामाजिक सञ्जालमा चर्को आलोचनाको वातावरण तयार गर्यो।

आलोचकहरूले लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधिलाई नागरिकभन्दा माथिल्लो तहको व्यक्तिका रूपमा प्रस्तुत गर्ने संस्कार अझै कायम रहेको टिप्पणी गरेका छन्।

विशेषगरी वैकल्पिक राजनीति, सादगी र पुराना राजनीतिक विकृतिविरुद्ध अभियान चलाउँदै उदाएको रास्वपाकी सांसदबाट यस्तो दृश्य देखिनु विरोधाभासपूर्ण भएको भन्दै प्रश्न उठाइएको छ।

सामाजिक सञ्जालमा ‘जनताको प्रतिनिधि कि शासक ?’ र ‘पिर्कामा उभिएर सम्मान खोज्ने संस्कार कहिलेसम्म ?’ जस्ता टिप्पणीहरू व्यापक रूपमा साझा भइरहेका छन्। कतिपयले पुराना दलका नेताहरूको यस्तै व्यवहारको आलोचना गर्नेहरू आफैं जिम्मेवारीमा पुगेपछि उही शैली दोहोर्याउन थालेको आरोपसमेत लगाएका छन्।

विवाद बढेपछि सांसद आशा झाले आफूले ‘पिर्के सलामी’ माग नगरेको दाबी गरेकी छन्। उनका अनुसार उनी रंगेलीस्थित काली मन्दिर दर्शनका लागि पुगेकी थिइन् र त्यसक्रममा प्रहरीको आग्रहपछि मात्र इलाका प्रहरी कार्यालय पुगेकी हुन्।

सांसद झाले आफूले विशेष आग्रह गरेर सलामी नलिएको र पाहुनालाई सम्मान गर्ने परम्परालाई सामान्य रूपमा लिनुपर्ने तर्क पनि गरेकी छन्।

यता मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रले पनि घटनालाई अनावश्यक रूपमा विवादित बनाइएको बताएका छन्। उनका अनुसार यो सामान्य सम्मानको विषय मात्र हो।

तर आलोचकहरू प्रहरीको यही शैलीमाथि प्रश्न उठाइरहेका छन्। उनीहरूका अनुसार लोकतान्त्रिक व्यवस्थामा निर्वाचित जनप्रतिनिधिलाई ‘विशेष व्यक्ति’का रूपमा प्रस्तुत गर्ने अभ्यासले राज्य संयन्त्र अझै पुरानो सामन्ती मानसिकताबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गर्छ।

घटनाका क्रममा रंगेलीस्थित इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटीले सांसद झालाई कार्यालयको निरीक्षण गराएका थिए। निरीक्षणका क्रममा हिरासत कक्ष, कार्यालय भवन तथा अन्य भौतिक संरचनाको अवलोकन गरिएको थियो।

प्रहरीले पूर्वाधार अभावका कारण सेवा प्रवाहमा कठिनाइ भइरहेको जानकारी गराएपछि सांसद झाले आवश्यक सहयोगका लागि पहल गर्ने आश्वासन दिएको बताइएको छ।

यद्यपि प्रहरी कार्यालयको निरीक्षणभन्दा बढी चर्चा भने ‘पिर्के सलामी’कै विषयले पाएको छ।

यस अघिका ‘पिर्के सलामी’ विवाद

नेपालमा ‘पिर्के सलामी’ सम्बन्धी विवाद नयाँ होइन। विगतमा पनि यस्ता घटनाले पटक–पटक सार्वजनिक बहस जन्माएका छन्। हालै पूर्वगृहमन्त्री सुधन गुरुङले नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) भ्रमणका क्रममा सुरक्षा निकायले दिने सलामी नलिने घोषणा गरेका थिए।

उनको उक्त निर्णयलाई धेरैले सकारात्मक रूपमा लिए पनि कतिपयले विगतका विवाद दोहोरिन नदिन अपनाइएको सावधानीका रूपमा टिप्पणी गरे।

२०७६ सालतिर रातो कपडा बिछ्याइएको पिर्कामाथि उभिएर सलामी लिने दृश्यहरू सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल हुन्थे ।

ओखलढुंगाबाट निर्वाचित प्रदेशसभा सदस्य अम्बिरबाबु गुरुङलाई सिद्धिचरण नगरपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा विद्यार्थीहरूले पिर्कामाथि उभ्याएर सलामी दिएको घटना त्यतिबेला व्यापक आलोचनाको विषय बनेको थियो।

सोही वर्ष ओखलढुंगा ‘ख’ बाट निर्वाचित तत्कालीन माओवादी केन्द्रका नेता मोहनकुमार खड्काले सुनकोशी गाउँपालिकास्तरीय अन्तरमाध्यमिक विद्यालय खेलकुद प्रतियोगितामा पिर्कामाथि उभिएर सलामी लिँदा पनि आलोचना खेप्नुपरेको थियो।

रोचक पक्ष के छ भने, सामाजिक सञ्जालमा यस्ता अभ्यासको आलोचना गर्ने एमाले नेतृ रामकुमारी झाँक्री स्वयं मन्त्री हुँदा यस्तै विवादमा परेकी थिइन्। २०७८ सालमा सहरी विकासमन्त्रीका रूपमा गृहजिल्ला गुल्मी पुगेकी झाँक्रीलाई प्रहरीले पिर्के सलामी दिएको दृश्य सार्वजनिक भएपछि आलोचना भएको थियो। त्यसपछि उनले सार्वजनिक रूपमा स्पष्टीकरणसमेत दिनुपरेको थियो।

यसबाहेक धनकुटाको महालक्ष्मी नगरपालिकाका तत्कालीन मेयर पर्शुराम नेपाललगायत अन्य जनप्रतिनिधिहरू पनि यस्तै घटनाका कारण विवादमा तानिएका थिए। यसले राजनीतिक दल वा विचारभन्दा पनि राज्य संयन्त्र र जनप्रतिनिधिमा रहेको पुरानो सम्मान संस्कृतिको निरन्तरतामाथि प्रश्न उठाउँदै आएको छ।

पुराना राजनीतिक संस्कारको विरोध गर्दै वैकल्पिक राजनीतिको एजेन्डा बोकेको रास्वपाकी सांसद आशा झा पनि अहिले यही विवादको केन्द्रमा पुगेकी छन्। त्यसले राजनीतिक दलहरूले सार्वजनिक रूपमा व्यक्त गर्ने प्रतिबद्धता र व्यवहारमा देखिने अभ्यासबीचको अन्तरबारे नयाँ प्रश्न खडा गरेको छ।

रंगेलीको उक्त घटनाले फेरि एकपटक लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधिको भूमिका, राज्य संयन्त्रको प्रोटोकल र शक्ति प्रदर्शनका पुराना शैली वास्तवमै परिवर्तन भएका छन् कि छैनन् भन्ने बहसलाई सतहमा ल्याएको छ।

प्रधानमन्त्रीले माफी माग्नुपर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको सीमा अतिक्रमणसम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आज पनि संसदमा विरोध जारी राख्ने भएका छन्।

प्रधानमन्त्री शाहले आइतबारको प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्ति त्रुटिपूर्ण रहेको निष्कर्ष निकाल्दै विपक्षी दलहरूले उनलाई संसदमै उपस्थित भएर स्पष्टीकरण दिन र अभिव्यक्ति सच्याउन माग गरेका छन्।

यस विषयमा साझा धारणा बनाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आह्वानमा सोमबार सिंहदरबारमा कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका नेताहरूको बैठक बसेको थियो।

बैठकपछि नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको सीमा अतिक्रमणसम्बन्धी अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ ठहर गरिएको बताए।

‘प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले संसदमार्फत देशवासीसँग माफी माग्नुपर्ने मागसहित आज संसदमा अवरोध गर्ने निष्कर्षमा हामी पुगेका छौँ,’ दुलालले बताए।

बैठकमा सहभागी श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले पनि प्रधानमन्त्रीले त्रुटिपूर्ण अभिव्यक्ति दिएको भन्दै त्यसलाई सच्याउनुपर्ने धारणा राखे।

त्यस्तै, राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्रीले संसदमै उपस्थित भएर आफ्नो भनाइबारे स्पष्टीकरण दिनुपर्ने माग आफ्नो पार्टीको रहेको बताइन्।

प्रधानमन्त्रीले आइतबार उक्त अभिव्यक्ति दिएलगत्तै कांग्रेस र नेकपाले सदनमै त्यसको पुष्टि गर्न वा पुष्टि गर्न नसके संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए।

विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई मुख्य मुद्दा बनाउँदै आजको प्रतिनिधिसभा बैठकमा पनि कडा विरोध जनाउने तयारी गरेका छन्।

बालेनको अभिव्यक्तिमा साझा धारणा बनाउदै विपक्षी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा विवादसम्बन्धी अभिव्यक्तिबारे साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक सुरु भएको छ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्रीको अभिव्यक्ति र त्यसबारे संसदमा अपनाइने रणनीतिमाथि छलफल भइरहेको छ।

आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा विवाद कूटनीतिक संवाद र आपसी छलफलमार्फत समाधान गर्नुपर्ने बताएका थिए। त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ- भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’ 

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले त्यसलाई संसदीय अभिलेखबाट हटाउन माग गरेका छन्। विपक्षीहरूको आरोप छ कि प्रधानमन्त्रीको भनाइले नेपालको सीमा सम्बन्धी स्थापित अडानलाई कमजोर बनाएको छ।

यसै विषयमा साझा रणनीति तय गर्न विपक्षी दलका शीर्ष नेताहरू बैठकमा जुटेका हुन्।

आलोचनाको राडरमा ‘बालेन’

काठमाडौं। प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले नेपाल-भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर विभिन्न राजनीतिक दलका नेताहरूले आपत्ति जनाएका छन्।

प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा ‘भारतले मात्र नभई नेपालले पनि भारतीय भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिएपछि यसले कुटनीतिक र राजनीतिक प्रतिक्रिया तीव्र बनेको हो।

प्रधानमन्त्रीले सम्मानित सदनको रोष्टमा उभिएर उक्त अभिव्यक्ति दिनु कदापी सहि नभएको भन्दै उनकै समर्थकहरू उनिमाथि खनिन सुरु भएका छन्।

विपक्षी दल तथा विभिन्न राजनीतिक नेताहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘अपरिपक्व’ र ‘कूटनीतिक रूपमा संवेदनशील’ भन्दै आलोचना गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले भने भरसक बालेनको बचाउ गर्ने कोसिस गरिरहेका छन्। यद्यपि उनीहरुको कोसिस पनि नाकाम साबित भैरहेको छ।

बालेनका साइबरसेना भनेर चिनिने केहि मिडिया पनि यतिबेला मौन देखिएका छन्।

समग्र हेर्दा प्रधानमन्त्री बालेन चौतर्फी आलोचनाको गन पोइन्टमा छन् भन्दा फरक नपर्ला। यसैबीच,श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) ले उक्त अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ भन्दै आलोचना गरेका छन्।

उनले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइले नेपालको सीमा सम्बन्धी स्थापित अडानलाई कमजोर बनाएको आरोप लगाएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको भनाइले नेपालको सीमा मिचिएको कुरालाई रफादफा गर्ने, लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्नुपर्छ भन्ने नेपाली जनताको मागलाई सामसुम पार्ने तथा नेपालले धेरै ठाउँका भूमि भारतलाई छोडिदिनुपर्ने राष्ट्रघाती बदनियत प्रष्ट पारेको छ। प्रधानमन्त्रीले बोलेको यो कुराले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र स्थिति के हो भन्नेबारे गम्भीर अस्पष्टता व्यक्त गरेको छ।’

नेकपाका नेता झलनाथ खनालले पनि प्रधानमन्त्री शाहको अभिव्यक्तिको आलोचना गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले उक्त भनाइलाई ‘गम्भीर, दुःखद, गलत र राष्ट्रविरोधी’ बताएका छन्।

खनालले लेखेका छन्, ‘हिजो प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा बोल्दा नेपालले समेत भारतका जग्गा मिचेको खतरनाक अभिव्यक्ति दिन पुगे। यो अत्यन्त गम्भीर, दुःखद, गलत र राष्ट्रविरोधी अभिव्यक्ति हो।’

उनले थप लेखेका छन्, ‘हामी नेपाली जनता युगौँदेखि विदेशी अतिक्रमणका विरुद्ध संघर्ष गर्दै आएका छौँ र अहिले पनि हाम्रो देशमाथि अतिक्रमण भइरहेको छ। त्यस्ता कार्यलाई हलुका बनाउने र विदेशीहरूको चाकडी गर्ने हिसाबले यस्ता अभिव्यक्ति दिनु राष्ट्रविरोधी कार्य हो। उहाँले कुन तथ्य, कुन प्रमाण र कुन दस्तावेजका आधारमा यस्तो खतरनाक अभिव्यक्ति दिनुभएको हो ?’

उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले पनि प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै नेपालको राष्ट्रिय अडानलाई कमजोर बनाउने खालको अभिव्यक्ति संसदबाट आउनु गम्भीर विषय भएको बताएका छन्।

घिसिङले लेखेका छन्, ‘नेपालले विगतदेखि नै उपलब्ध ऐतिहासिक दस्तावेज, नक्सा, सन्धि तथा तथ्य–प्रमाणका आधारमा आफ्नो अडान स्पष्ट रूपमा राख्दै आएको छ। यस्तो अवस्थामा सार्वभौम राष्ट्रको प्रधानमन्त्रीले संसदजस्तो सर्वोच्च मञ्चबाट दिएको यस्तो अभिव्यक्तिले नेपालको राष्ट्रिय अडानलाई कमजोर बनाउँछ।’

उनले थप भनेका छन्, ‘रास्वपा सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा सोही पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनुले संशय र प्रश्नहरू जन्माएको छ।’

घिसिङले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको आधार, सन्दर्भ र तथ्य देश र जनतासमक्ष स्पष्ट पार्नुपर्ने माग गरेका छन्।

यस्तै नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पनि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले लेखेका छन्, ‘बालेन्द्र शाहले आज संसदमा दिएको अभिव्यक्तिले उनले नेपाल राष्ट्रको प्रतिनिधित्व गर्छन् कि अरू कसैको भन्ने गम्भीर प्रश्न खडा भएको छ।’

प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिलाई लिएर संसददेखि सामाजिक सञ्जालसम्म बहस जारी रहेको छ। भने विभिन्न राजनीतिक दलका नेताहरूले सरकारसँग थप स्पष्टीकरणको माग गरेका छन्।

यसैबीच रास्वपा सभापति रवि लामिछाने सोमबार भारत भ्रमण जानुले पनि नयाँ शक्तिका रुपमा उदाएको दल माथी आशंकाका तीर रोपिएको छ। औपचारिक भ्रमण भनेपनि रवि भ्रमण जाने अघिल्लो दिन प्रधानमन्त्री बालेनको उक्त अभिव्यक्तिलाई संयोग मात्र मान्न नसकिने विज्ञहरू बताउँछन्।

‘बालेन’ले भूमी नेपालले मिचेको भनेपछि भारत जाँदै ‘रवि’ [तस्वीरहरू]

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले आइतवार नेपालले पनि भारतको भूमी मिचेको छ भन्ने अभिव्यक्ति दिएसँगै सोमवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने भारत भ्रमण जाँदैछन्।

प्रधानमन्त्री शाह र रास्वपाको चर्को आलोचना चुलिएको बेला सभापति लामिछाने भारत जान लागेका हुन्।

प्रधानमन्त्री बालेनको अभिव्यक्ति सँगै रविको भ्रमणलाई समेत शंकास्पद दृष्टिले हेर्न लागिएको छ।

यसैबीच रास्वपाले भ्रमणको औपचारिक जानकारी सार्वजनिक गरेको छ।

पार्टीका प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै लामिछानेको नेतृत्वमा प्रतिनिधिमण्डल भोलिदेखि भारत भ्रमणमा जान लागेको जानकारी दिएका हुन्।

जारी विज्ञप्तिअनुसार भ्रमण टोलीमा रास्वपाका सांसद विपिन आचार्य र दीपक बोहरा पनि सहभागी रहनेछन्। त्यस्तै, रवि लामिछानेकी पत्नी निकिता पौडेल र प्रदीप आचार्य पनि भ्रमण टोलीमा समावेश छन्।

रास्वपाका अनुसार लामिछाने सोमबार भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ। भ्रमण भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा हुन लागेको बताइएको छ।

उक्त भ्रमणबारे भारतीय जनता पार्टीले पनि छुट्टै विज्ञप्ति जारी गर्दै निमन्त्रणाको पुष्टि गरेको जनाएको छ।
तस्वीरमा हेर्नुहोस्  :

नेकपाले भन्यो, ‘प्रधानमन्त्रीको भनाइले राष्ट्रियता, स्वाधीनता र अखण्डतामाथि गम्भीर चोट पुर्यायो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेको छ। पार्टीका प्रवक्ता प्रकाश ज्वालाले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाइ तत्काल सच्याउन आग्रह गरेका हुन्।

पार्टीले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हित र नेपालको सीमा सम्बन्धी स्थापित अडानमाथि प्रश्न उठाएको भन्दै उक्त भनाइ संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन तथा राष्ट्रिय हितका सवालमा राष्ट्रिय सहमति कायम गरी तथ्यका आधारमा भारतसँग कूटनीतिक संवाद अघि बढाउन हाम्रो पार्टी जोडदार माग गर्दछ।’

नेकपाले भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भूभागमा गर्दै आएको अतिक्रमणसम्बन्धी ऐतिहासिक तथ्यलाई तोडमोड गर्दै नेपालले पनि भारतको भूमि कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघातपूर्ण अभिव्यक्ति भएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सुगौली सन्धि तथा प्राचीन सीमा स्तम्भहरूको आधारमा निर्धारण भएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमारेखाका कारण सीमावर्ती नागरिकको खेतीयोग्य जमिन वा सम्पत्ति दुवैतर्फ पर्नुलाई कब्जा भनिँदैन। यसलाई जग्गाको भोगचलनको अवस्था भनिन्छ। देशको कार्यकारी प्रमुखले संसद्को रोस्ट्रमबाटै राष्ट्रिय स्वाधीनतामाथि प्रहार गर्दै नेपालले भारतको जमिन कब्जा गरेको भनी दिएको अभिव्यक्ति संविधानको मर्मविपरीत छ।’

पार्टीले नेपाल र भारतबीच सीमा विवाद रहेको स्वीकार गर्दै त्यसको समाधान कूटनीतिक माध्यमबाट खोजिनुपर्ने धारणा पनि व्यक्त गरेको छ।

‘हालसम्म नेपालले भारतको कुनै पनि भूभाग कब्जा गरेको छैन भन्ने तथ्यमा टेकेर मात्रै हाम्रो दाबी कायम रहन्छ। यही आधारमा लिम्पियाधुरा क्षेत्रमा नेपालले आफ्नो दाबी कायम राख्दै चुच्चे नक्सा जारी गरेको हो,’ विज्ञप्तिमा उल्लेख छ।

नेकपाले सीमा समस्या समाधानका लागि गठित प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन भारतले अहिलेसम्म सार्वजनिक नगरेको उल्लेख गर्दै यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रियता, स्वाधीनता र अखण्डतामाथि गम्भीर चोट पुर्‍याएको दाबी गरेको छ।

‘यस्तो संवेदनशील परिस्थितिमा प्रधानमन्त्रीबाट व्यक्त धारणाले राष्ट्रियता, स्वाधीनता र अखण्डतामाथि गम्भीर चोट पुर्‍याएको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि बल्झिएको सुस्ता विवादमा गृहले भन्यो, ‘जानकारी छैन’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा नेपाल-भारत सीमा विवादबारे दिएको विवादास्पद अभिव्यक्तिपछि नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध गरेको छ।

सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार आइतबार साँझ भारतीय एसएसबीको टोली सुस्ता गाउँपालिका-५ स्थित निर्माणस्थलमा पुगेको थियो। उनीहरूले तटबन्ध निर्माण रोक्न दबाब दिएपछि काम रोकिएको छ।

गाउँपालिकाका अध्यक्ष उपाध्यायले भारतीय सुरक्षाकर्मीहरूको उपस्थितिपछि निर्माण कार्य रोकिएको पुष्टि गरे। उनका अनुसार करिब ४० देखि ५० जना भारतीय सुरक्षाकर्मी निर्माणस्थलमा पुगेर काम रोक्न चेतावनी दिएका थिए।

कटान र डुबानको उच्च जोखिममा रहेको सुस्ता क्षेत्रलाई जोगाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको करिब १४ करोड रुपैयाँ लागतमा नारायणी नदी किनारमा तटबन्ध निर्माण भइरहेको छ। उपाध्यायले प्रधानमन्त्री शाहको संसद् सम्बोधनपछि उत्पन्न भएको विवादले निर्माण कार्य रोकिएको बताए।

‘भारतीय पक्षले पहिलेदेखि नै सुस्ताको नेपाली भूमिमाथि दाबी गर्दै आएको थियो। तर तीन महिनादेखि त्यहाँ तटबन्ध निर्माणको काम भने भइरहेको थियो। निर्माण सम्पन्नको अन्तिम चरणमा थियौँ, तर प्रधानमन्त्रीको अभिव्यक्तिपछि काम अवरुद्ध भएको छ,’ अध्यक्ष उपाध्यायले नेपालवन एचडीसँग भने।

उनका अनुसार नारायणी नदीको कटानका कारण स्थानीय बासिन्दाले वर्षौँदेखि दुःख भोग्दै आएका छन्। पूर्वऊर्जामन्त्री कुलमान घिसिङको कार्यकालको अन्त्यतिर उक्त योजनाका लागि बजेट विनियोजन भएपछि निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको थियो।

त्यसपछि हामीले यही विषयमा नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालसँग कुराकानी गर्यौँ। उनका अनुसार भने नयाँ तटबन्धको काम सुरु गर्न लाग्दा अवरोध भएको हो। ‘पुरानो तटबन्ध निर्माणमा कुनै समस्या आएको थिएन। नयाँ सुरु गर्न लाग्दा अवरोध भएको भन्ने जानकारी आएको छ। हामी पनि समन्वय गरिरहेका छौँ,’ नेपालवन एचडीसँगको कुराकानीमा उनले भने।

साथै, नेपालले हिजो मात्रै भारतीय सुरक्षा फौज आएको कुरा गलत भएको दाबी गरे। ‘सुरक्षा टोली पहिले पनि थियो, तर हिजो मात्रै आएको भनिएको रहेछ, त्यो होइन,’ उनले भने।

यता गृहमन्त्रालय भने यो विषयमा औपचारिक जानकारी नभएको बताउँछ। गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार यो विषयमा अहिलेसम्म कुनै औपचारिक जानकारी प्राप्त भएको छैन।

‘अनौपचारिक रूपमा हामीले पनि सुन्यौँ, तर औपचारिक रूपमा कुनै जानकारी आएको छैन,’ उनले भने।

रतुवा खोलाको पुलमुनि बोरामा शव फेला, ट्याटुले खुलायो पहिचान

काठमाडौं। झापाको गौरादह नगरपालिका र दमक नगरपालिकाको सीमास्थित रतुवा खोलाको पुलमुनि केही दिनअघि बोराभित्र प्याक गरिएको अवस्थामा फेला परेको युवतीको शवको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतक दमक नगरपालिका-८ बसन्तटोल निवासी २१ वर्षीया रोमा भन्ने रमा तिवारी रहेकी छन्।

शवको पहिचान खुलाउन प्रहरीले मृतकको बाँया हातमा रहेको ट्याटुको तस्बिरसहित विवरण सार्वजनिक गर्दै सर्वसाधारणसँग सहयोगको अपिल गरेको थियो।

प्रहरीले जनाएको अनुसार सार्वजनिक सूचनापछि सम्पर्कमा आएका मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारीले जेठ १७ गते ट्याटु तथा अन्य शारीरिक चिन्हका आधारमा शवको सनाखत गरेका हुन्।

प्रारम्भिक जानकारीअनुसार रमा जेठ १३ गते राति करिब ९:३० बजे घरबाट निस्किएकी थिइन्। त्यसपछि उनी परिवारको सम्पर्कमा आएकी थिइनन्। परिवारले खोजी गरिरहेको अवस्थामा बिहीबार रतुवा खोलाको पुलमुनि बोराभित्र उनको शव फेला परेको थियो।

घटनाको प्रकृति शंकास्पद देखिएकाले प्रहरीले यसलाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। मृत्युको वास्तविक कारण, घटनाअघि भएका गतिविधि तथा अन्य व्यक्तिको संलग्नता भए-नभएको विषयमा अनुसन्धान केन्द्रित गरिएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय झापाले घटनासम्बन्धी सबै पक्षको अध्ययन गर्दै सत्यतथ्य पत्ता लगाउने कामलाई तीव्र बनाइएको जनाएको छ। घटनापछि दमक र आसपासका क्षेत्रमा चासो तथा चिन्ता बढेको छ।

रविसँग को-को जाँदै छन् भारत भ्रमण ?

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले आइतवार नेपालले पनि भारतको भूमी मिचेको छ भन्ने अभिव्यक्ति दिएसँगै सोमवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने भारत भ्रमण जाँदैछन्।

प्रधानमन्त्री शाह र रास्वपाको चर्को आलोचना चुलिएको बेला सभापति लामिछाने भारत जान लागेका हुन्।

प्रधानमन्त्री बालेनको अभिव्यक्ति सँगै रविको भ्रमणलाई समेत शंकास्पद दृष्टिले हेर्न लागिएको छ।

यसैबीच रास्वपाले भ्रमणको औपचारिक जानकारी सार्वजनिक गरेको छ।

पार्टीका प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै लामिछानेको नेतृत्वमा प्रतिनिधिमण्डल भोलिदेखि भारत भ्रमणमा जान लागेको जानकारी दिएका हुन्।

जारी विज्ञप्तिअनुसार भ्रमण टोलीमा रास्वपाका सांसद विपिन आचार्य र दीपक बोहरा पनि सहभागी रहनेछन्। त्यस्तै, रवि लामिछानेकी पत्नी निकिता पौडेल र प्रदीप आचार्य पनि भ्रमण टोलीमा समावेश छन्।

रास्वपाका अनुसार लामिछाने सोमबार भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ। भ्रमण भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा हुन लागेको बताइएको छ।

उक्त भ्रमणबारे भारतीय जनता पार्टीले पनि छुट्टै विज्ञप्ति जारी गर्दै निमन्त्रणाको पुष्टि गरेको जनाएको छ।

भ्रमणका क्रममा हुने भेटघाट तथा कार्यक्रमहरूको विस्तृत कार्यसूची भने सार्वजनिक गरिएको छैन।

रास्वपाले भ्रमणलाई दुई राजनीतिक दलबीचको सम्बन्ध र आपसी संवाद विस्तार गर्ने अवसरका रूपमा लिएको बताएको छ।

हुम्ला-बाजुरा सीमा विवाद छानबिन गर्न गृह मन्त्रालयको टोली पुग्यो हुम्ला

हुम्ला। हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा त्यसक्रममा भएको झडपबारे अध्ययन गर्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली हुम्ला पुगेको छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज पौडेलको नेतृत्वमा रहेको टोली आइतबार सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको हो।

टोलीले विवाद भएको लाम्पाटा र च्याचौर क्षेत्रको स्थलगत अवलोकन गरेपछि सिमकोटमा विभिन्न पक्षसँग छलफल थालेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार टोलीले सीमा क्षेत्रका स्थानीय बासिन्दा, घटनामा संलग्न व्यक्तिहरू, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा नागरिक अगुवासँग भेटघाट गरी घटनाको वास्तविकता बुझ्नेछ।

हुम्ला र बाजुराका स्थानीयबीच गत जेठ २ देखि ४ गतेसम्म सीमा विवादलाई लिएर तनाव उत्पन्न भएको थियो। विवाद चर्किँदै जाँदा लाम्पाटा क्षेत्रमा दुई जिल्लाका स्थानीयबीच झडप भएको थियो। जसमा बाजुराका चार जना घाइते भएका थिए। घाइतेहरूको हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि पठाइएको थियो।

विवादको मुख्य कारण सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजेट विनियोजन गरेर उक्त क्षेत्रमा प्रहरी चौकी निर्माणको काम अघि बढाउनु रहेको बताइएको छ। प्रहरी चौकी निर्माणको स्थानलाई लिएर दुवै जिल्लाका स्थानीयबीच विवाद उत्पन्न भएको थियो।

घटनापछि गृह मन्त्रालयले सीमा विवाद र झडपको वस्तुगत अध्ययन तथा समाधानका लागि छुट्टाछुट्टै दुई समिति गठन गरेको थियो। जेठ ११ गते नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा प्राविधिक अध्ययन समिति तथा एसएसपी विमलराज पौडेलको संयोजकत्वमा जाँचबुझ समिति गठन गरिएको थियो।

समितिले स्थलगत अध्ययन, स्थानीयको भनाइ तथा उपलब्ध प्रमाणका आधारमा प्रतिवेदन तयार गरी सरकारलाई बुझाउनेछ।

सरकारको अपेक्षा अनुसार उक्त प्रतिवेदनले सीमा विवाद समाधान र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक आधार प्रदान गर्ने विश्वास गरिएको छ।

रविलाई जोगाउने नियमले संसदमा भयो धक्काधक्की

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले विपक्षीहरूलाई पेलेरै प्रतिनिधि सभा नियमावली पारित गरियोस् भन्ने प्रस्तावमाथिको छलफल अघि बढाएपछि संसदमा लफडा भएको छ ।

विपक्षी सांसदहरूले सभामुखविरुद्ध नाराबाजी गर्दै वेल घेराउ गरे । त्यस क्रममा उनीहरूलाई रोक्न मर्यादापालकहरूलाई हम्मेहम्मे परेको थियो । उनीहरूले भने, ‘यस्तो सभामुख चाहिँदैन ।’

विपक्षी सांसदहरूको अवरोधबीच सभामुख अर्यालले प्रस्तावमाथिको छलफल अघि बढाइरहे । झनै आक्रोशित बने विपक्षी सांसदहरू । त्यसपछि सभामुखले भने, ‘सभाको मर्यादामा रहन म निर्देशन जारी गर्छु ।’

तर, विपक्षी सांसदहरूको अवरोध जारी रह्यो । वेल घेराउ गर्न पहिलोपटक प्रमुख विपक्षी दल कांग्रेस र अन्य विपक्षी दलहरू एमाले र नेकपाका सांसदहरू पुगे ।

श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरू पनि वेल घेराउ गर्न पुगेका थिए । विपक्षी सांसदहरूको लगातारको प्रदर्शनपछि सभामुख अर्यालले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरेका छन् ।

विपक्षीहरूले प्रतिनिधि सभा नियमावलीको नियम २५९, २६० र २६१ मा आपत्ति जनाएका छन् । यी नियमहरूमा नियमावलीलाई विशेष कानुनको मान्यता दिने, सभामुखको निर्णय अन्तिम हुने र फौजदारी कसुरमा आरोपीलाई निलम्बन नगर्ने भन्ने प्रावधान छ ।

यो सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दाका आरोपी रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गरेर ल्याएको नियमावली भएको भन्दै विपक्षी दलहरूले गम्भीर आपत्ति जनाएका छन् । उनीहरूले यी प्रावधान खारेजीको माग गरेका छन् ।

तर, रास्वपाबाट सभामुख भएका डीपी अर्यालले विपक्षी आवाजलाई दबाउँदै नियमावली पारित गराउने गरी पेलेरै अघि बढेका छन् ।

 

‘प्रधानमन्त्री बालेनको अभिव्यक्तिले नेपाललाई कमजोर बनायो’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिप्रति नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का नेपालतर्फका सदस्य तथा पूर्वकूटनीतिज्ञ निलाम्बर आचार्यले कडा आपत्ति जनाएका छन् ।

उनले उक्त अभिव्यक्तिलाई तथ्यगत आधारविहीन र कूटनीतिक दृष्टिले गम्भीर त्रुटिपूर्ण भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा सीमा विवादबारे बोल्ने क्रममा नेपालले पनि भारततर्फका केही क्षेत्रमा सीमा मिचिएको भनेपछि राजनीतिक तथा कूटनीतिक वृत्तमा व्यापक बहस सुरु भएको छ ।

आचार्यले यस्तो संवेदनशील विषयमा राज्यको उच्च तहबाट आउने अभिव्यक्ति अन्तर्राष्ट्रिय स्तरमा नेपालको दीर्घकालीन अडानलाई कमजोर पार्ने जोखिम रहने बताएका छन् ।

उनका अनुसार सीमा विवादमा नेपालले ऐतिहासिक नक्सा, दस्तावेज र कानूनी आधारमा स्पष्ट दाबी गर्दै आएको अवस्थामा ‘नेपालले पनि सीमा मिचेको छ’ भन्ने प्रकारको सामान्यीकरणले कूटनीतिक तर्क नै कमजोर बनाउने अवस्था सिर्जना गर्छ ।

उनको भनाइमा नेपाल-भारत सीमा विवाद विशेषगरी कालापानी, लिम्पियाधुरा र लिपुलेकजस्ता संवेदनशील क्षेत्रमा केन्द्रित छ, जहाँ नेपालले ऐतिहासिक प्रमाणका आधारमा आफ्नो दाबी गर्दै आएको छ ।

यस्तो अवस्थामा दुई फरक प्रकृतिका विषय राज्यस्तरीय विवाद र स्थानीयस्तरका सीमावर्ती व्यवहारलाई एउटै रूपमा प्रस्तुत गर्नु गलत हुने उनको तर्क छ ।

आचार्यले कूटनीतिक अभ्यासमा राज्य प्रमुख वा प्रधानमन्त्रीको हरेक अभिव्यक्ति अर्को देशसँगको वार्तामा ‘स्थिति दस्तावेज’ का रूपमा प्रयोग हुन सक्ने भएकाले अत्यन्त सावधानी आवश्यक हुने बताएका छन् ।

उनका अनुसार संसदमा आएको उक्त भनाइले भविष्यमा भारतसँग हुने वार्तामा नेपालको अडान कमजोर भएको रूपमा व्याख्या हुने जोखिम रहन्छ ।

‘सुपर एप’ बन्दै टिकटक,एउटै एपमा शप,म्याप, गेमिङदेखि होटल बुकिङ्गसम्म

काठमाडौं। टिकटक अब केवल सामाजिक सञ्जाल वा भिडियो शेयरिङ प्लेटफर्ममा सीमित नरहेर सबै प्रकारका डिजिटल आवश्यकताहरू पूरा गर्ने ‘सुपर एप’ बन्ने दिशामा अघि बढिरहेको छ।

सुरुमा छोटा भिडियोका लागि परिचित यो प्लेटफर्मले पछिल्ला वर्षहरूमा क्रमशः आफ्नो सेवा विस्तार गर्दै नयाँ डिजिटल इकोसिस्टम निर्माण गरिरहेको देखिन्छ।

हाल टिकटकले टिकटक शप, स्थानीय सर्चका लागि म्याप, गेमिङ र इन-एप सर्च जस्ता फिचरहरू थप्दै गएको छ। यसै क्रममा यसले हालै होटल बुकिङ सेवा पनि सुरु गरेको छ भने वित्तीय प्रविधि (फिनटेक) लाइसेन्सका लागि समेत प्रक्रिया अघि बढाएको छ।

यसले टिकटकलाई केवल मनोरञ्जन प्लेटफर्मभन्दा माथि उठाएर बहुआयामिक डिजिटल सेवा प्रदायक बनाउने संकेत गरेको छ।

चीनमा ‘विच्याट’लाई सुपर एपको सफल उदाहरण मानिन्छ, जहाँ फेसबुक, ह्वाट्सएप, डिजिटल भुक्तानी सेवा र एप स्टोरजस्ता सुविधाहरू एउटै प्लेटफर्ममा उपलब्ध छन्। टिकटकले पनि सोही मोडेललाई पछ्याउने प्रयास गरिरहेको देखिन्छ।

सन् २०२६ को जनवरीमा मुख्य रूपमा अमेरिकी स्वामित्व संरचना परिवर्तन भएपछि टिकटकले आफ्नो सेवाहरू अझ विस्तार गर्ने रणनीति लिएको छ। हालै अमेरिकामा सार्वजनिक गरिएको ‘टिकटक गो’ मार्फत प्रयोगकर्ताले एपभित्रै भिडियो हेर्दै होटल, पर्यटकीय गन्तव्य र विभिन्न अनुभवहरू खोज्न तथा बुकिङ गर्न सक्ने सुविधा पाएका छन्।

यसले प्रयोगकर्तालाई छुट्टै वेबसाइट वा एपमा जानुपर्ने आवश्यकता घटाएको छ।

यस विस्तारले गुगलको मुख्य व्यवसाय सर्च र गुगल म्याप्सलाई प्रत्यक्ष चुनौती दिएको विश्लेषण गरिएको छ। किनकि टिकटक अब केवल मनोरञ्जनको माध्यम नभई यात्रा योजना र बुकिङसम्मको पूर्ण डिजिटल प्लेटफर्म बन्नेतर्फ अघि बढिरहेको छ।

त्यसैगरी टिकटकले ब्राजिलको केन्द्रीय बैंकमा वित्तीय प्रविधि कम्पनीका रूपमा काम गर्न दुईवटा लाइसेन्सका लागि आवेदन दिएको छ। पहिलो लाइसेन्समार्फत प्रयोगकर्ताले प्रिपेड खाता सञ्चालन, रकम जम्मा तथा भुक्तानी गर्न सक्नेछन् भने दोस्रो लाइसेन्सले टिकटकलाई सिधै ऋण प्रदायक वा ऋण लिने–दिने बीचको माध्यम बन्न अनुमति दिनेछ। यसले कम्पनीलाई ई–कमर्स र डिजिटल फाइनान्स क्षेत्रमा अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

टिकटक शप, जुन सन् २०२१ मा परीक्षणपछि २०२३ मा अमेरिकामा औपचारिक रूपमा सुरु गरिएको थियो, अहिले अमेजन र शिन जस्ता ठूला ई-कमर्स कम्पनीहरूलाई चुनौती दिइरहेको छ।

तथ्याङ्कअनुसार यसको अमेरिकी बिक्री सन् २०२४ मा ४०७ प्रतिशत र सन् २०२५ मा १०८ प्रतिशतले बढेर १५.८२ अर्ब अमेरिकी डलर पुगेको छ।

अनुमान अनुसार सन् २०२७ सम्ममा अमेरिकाको कुल सोसल कमर्स बजारमा टिकटक शपको हिस्सा २४.१ प्रतिशत पुग्ने सम्भावना देखिएको छ। यसले टिकटकलाई ई-कमर्स क्षेत्रमा पनि शक्तिशाली प्रतिस्पर्धी बनाइरहेको छ।

मनोरञ्जन क्षेत्रमा पनि टिकटकले आफ्नो दायरा विस्तार गरेको छ। सन् २०२३ मा सुरु गरिएको टिकटक म्युजिक सेवा एक वर्षमै बन्द भए पनि हाल एप्पल म्युजिकसँगको सहकार्यमार्फत प्रयोगकर्ताले एपभित्रै पूर्ण गीत सुन्न सक्ने सुविधा पाएका छन्।

त्यसैगरी, टिकटकले नेटफ्लिक्सजस्ता स्ट्रिमिङ प्लेटफर्मसँग प्रतिस्पर्धा गर्न माइक्रोड्रामा (एक मिनेटका छोटा श्रृंखला) र मिनिस शृंखला पनि सुरु गरेको छ। प्रयोगकर्तालाई लामो समय एपमै राख्न विभिन्न क्याजुअल गेमहरू पनि उपलब्ध गराइएको छ।

यसरी टिकटकले आफूलाई केवल भिडियो हेर्ने एपबाट विस्तार गर्दै डिजिटल जीवनका लगभग सबै आवश्यकताहरू पूरा गर्ने विशाल ‘सुपर एप’ इकोसिस्टमको रूपमा रूपान्तरण गर्ने प्रयास गरिरहेको छ।

प्रधानमन्त्री बालेनको राजीनामा माग

काठमाडौं । नेकपाका नेता तथा पूर्वगृहमन्त्री भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाहको तत्काल राजीनामा मागेका छन् ।

प्रधानमन्त्री शाहले संसदमा आइतबार देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि आँच आउने खालको अभिव्यक्ति दिएको भन्दै नेता रावलले बालेनको पदमा बसिरहने नैतिक अधिकार समाप्त भएको दाबी गरे ।

वक्तव्य जारी गर्दै नेता रावलले प्रधानमन्त्रीको उक्त कदमप्रति तीव्र आक्रोश व्यक्त गरे । ‘प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएँ,’ भन्ने प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे रावलले यस्तो अभिव्यक्तिलाई अत्यन्तै आपत्तिजनक भन्दै नेपालको भौगोलिक अखण्डताको रक्षा गर्नुपर्ने प्रमुख जिम्मेवारीमा रहेका प्रधानमन्त्रीले संसदमै देश विरुद्ध यस्तो ‘झुटा कुरा’ गरेको आरोप लगाए ।

प्रधानमन्त्री शाहको राजीनामा माग्ने क्रममा नेता रावलले आफ्नो वक्तव्यमा प्रष्ट शब्दमा भनेका छन्, ‘नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा जोड दिनुको साटो नेपालले भारतको भूभाग मिचेको छ भन्ने भुटा कुरा संसदमा गर्ने व्यक्तिलाई प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार हुँदैन।’

नेता रावलले संसदमै यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिनु प्रकारान्तरले नेपालको आफ्नै भूभाग अरू देशलाई सुम्पने प्रपञ्च भएको गम्भीर आरोप लगाए ।

प्रधानमन्त्री हुनु अघिसम्म देशको भूभागबारे आफूलाई जानकारी नै नभएको अर्थ लाग्ने गरी संसद् जस्तो गरिमामय ठाउँमा बोल्नु राष्ट्रकै अपमान भएको उनको तर्क छ ।

वक्तव्यमा भनिएको छ, ‘जो व्यक्ति संसदमा यस्तो अभिव्यक्ति दिएर प्रकारान्तरले आफ्नो भूभाग अरु देशलाई सुम्पने किसिमको अभिव्यक्ति संसदमा दिन्छ र प्रधानमन्त्री नहुँदा अघिसम्म आफूलाई आफ्नो देशको भूभागबारे जानकारी नभएको भन्ने अर्थमा बोल्छ त्यस्तो व्यक्ति नेपालको प्रधानमन्त्रीको पदमा आसिन हुनु नेपाल र नेपाली जनताको ठूलो दुर्भाग्य ठहर्दैन त?’

प्रधानमन्त्रीको राजीनामाको मागसँगै रावलले नेपालले भारतको जग्गा कहाँ, कति र कहिलेदेखि मिचेको छ, त्यसको सत्यतथ्य विवरण तत्काल नेपाली जनतासामु सार्वजनिक गर्न समेत प्रधानमन्त्री शाहलाई चुनौती दिए।

स्वाधीन र स्वाभिमानी नेपाली जनताले यस विषयमा तत्काल प्रधानमन्त्रीसँग कडा जवाफ माग्नुपर्ने उनको भनाइ छ ।

यसैगरी, झन्डै दुईतिहाइ बहुमतका साथ सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, सांसद र सदस्यहरू यस विषयमा किन मौन छन् भन्दै रावलले प्रश्न उठाएका छन् ।

सरकारको नेतृत्वकर्ता दलको यस विषयमा के धारणा छ, त्यो पनि नेपाली जनताले तत्काल पाउनुपर्ने र जनताले त्यसको जवाफ खोज्नुपर्ने माग गरे ।

बालेनको राष्ट्रघाती अभिव्यक्तिको भारतमा चर्चा

संसदमा सीमा विवाद सम्बन्धी प्रश्नको जवाफ दिने क्रममा बालेन्द्र शाह (बालेन) ले भने, ‘मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको थुप्रै जग्गा मिचेको रहेछ।’ 

प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा दिएको यो राष्ट्रघाती अभिव्यक्तिले यतिबेला राष्ट्रिय राजनीतिमा तरंग सिर्जना गरेको छ। प्रधानमन्त्रीको यो भनाइ सार्वजनिक भएसँगै नेपालभित्र मात्र होइन, भारतका सञ्चारमाध्यममा समेत व्यापक चर्चा भएको छ।

सीमा विवाद नेपालका लागि केवल भूगोलको विषय होइन, यो राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता र राष्ट्रिय एकतासँग जोडिएको संवेदनशील मुद्दा हो। विशेषगरी लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयमा नेपालको आधिकारिक धारणा स्पष्ट रहँदै आएको छ। नेपालको संसदले नयाँ नक्सा पारित गरेको छ, संविधान संशोधनमार्फत त्यसलाई संस्थागत गरिएको छ र राज्यका सबै निकायले उक्त भूभाग नेपालको अभिन्न अंग भएको दाबी गर्दै आएका छन्। यस्तो अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्तिलाई धेरैले नेपालको स्थापित राष्ट्रिय अडानसँग बाझिएको रूपमा बुझेका छन्। तर ती सबै कुराको धज्जी उडाउदै प्रधानमन्त्री आइतबार संसदमा मनलाग्दी बोले।  

यद्यपि प्रधानमन्त्री शाहले सम्भवतः सीमावर्ती क्षेत्रमा देखिने क्रस होल्डिङ अकुपेसन अर्थात् सीमापार भोगचलनको अवस्थालाई संकेत गर्न खोजेका हुन सक्छन्। नदीले धार परिवर्तन गर्दा वा ऐतिहासिक कारणले केही स्थानमा नेपाली नागरिकले भारतीय भूमिमा र भारतीय नागरिकले नेपाली भूमिमा भोगचलन गर्दै आएका उदाहरणहरू छन्। तर यस्ता सीमित र स्थानीय प्रकृतिका समस्यालाई लिपुलेक, कालापानी र लिम्पियाधुराजस्ता औपचारिक तथा दीर्घकालीन सीमा विवादसँग एउटै रूपमा प्रस्तुत गरिनु उपयुक्त हुँदैन। यही कारण प्रधानमन्त्रीको भनाइप्रति सिमाविद् र राजनीतिक वृत्तबाट प्रश्न उठेका छन्।

सीमा विवाद समाधानको उपाय संवाद नै हो। प्रधानमन्त्री शाहले कूटनीतिक वार्तामार्फत समस्या समाधान गर्नुपर्ने धारणा राख्नु सकारात्मक पक्ष हो। नेपाल र भारतबीचका जटिल विषयहरू भावनात्मक प्रतिक्रिया वा आरोप प्रत्यारोपबाट होइन, तथ्य, प्रमाण र कूटनीतिक संयमताबाट समाधान हुन सक्छन्। तर संवादको आधार नेपालको स्थापित राष्ट्रिय अडान कमजोर बनाउने होइन, बरु त्यसलाई थप स्पष्ट र मजबुत बनाउने हुनुपर्छ।

प्रधानमन्त्रीको अभिव्यक्तिले एउटा महत्वपूर्ण प्रश्न उठाएको छ- राष्ट्रिय हितका संवेदनशील विषयमा राज्यका उच्च नेतृत्वले कति सावधानीपूर्वक बोल्नुपर्छ? लोकतन्त्रमा खुला बहस आवश्यक छ, तर राष्ट्रियता र सीमासम्बन्धी विषयमा अभिव्यक्त हुने शब्दले देशको आधिकारिक नीति र जनभावनालाई समेत असर पार्न सक्छ। त्यसैले सरकारको नेतृत्वमा रहेका व्यक्तिहरूले तथ्यगत स्पष्टता, कूटनीतिक परिपक्वता र राष्ट्रिय सहमतिलाई केन्द्रमा राखेर अभिव्यक्ति दिनु आजको आवश्यकता हो।

नेपालको भूमि, सार्वभौमसत्ता र राष्ट्रिय हित कुनै दल वा व्यक्तिको विषय होइन; यो सम्पूर्ण राष्ट्रको साझा सरोकार हो। त्यसैले सीमा विवादबारे हुने हरेक अभिव्यक्ति राष्ट्रिय हितको मापदण्डमा परीक्षण हुनुपर्छ। प्रधानमन्त्रीको पछिल्लो भनाइले यही बहसलाई पुनः सतहमा ल्याएको छ।

अर्कोतर्फ, प्रधानमन्त्रीको अभिव्यक्तिलाई भारतीय सञ्चारमाध्यमहरूले आफ्नै कोणबाट व्याख्या गरेका छन्। केही भारतीय सञ्चारमाध्यमले यसलाई नेपालले भारतीय भूमि अतिक्रमण गरेको स्वीकारोक्ति जस्तै गरी प्रस्तुत गरेका छन्। अन्तर्राष्ट्रिय सम्बन्धमा शब्दको महत्व अत्यन्त ठूलो हुन्छ। प्रधानमन्त्रीजस्तो पदमा रहेका व्यक्तिको अभिव्यक्ति केवल व्यक्तिगत धारणा हुँदैन; त्यसले राज्यको आधिकारिक दृष्टिकोणको प्रतिनिधित्व गर्ने भएकाले अझ बढी जिम्मेवारी र सावधानी अपेक्षित हुन्छ।

कसल के लेखे ? 

बिबिसी हिन्दीले लेखेको छ, ‘नेपालका नयाँ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले ‘भारतले मात्रै नेपाली भूमि अतिक्रमण गरेको होइन, नेपालले पनि भारतीय भूमिमा अतिक्रमण गरेको छ’ भन्ने दाबी गरेको भन्दै समाचार प्रकाशित भएको छ।’ काठमाण्डु पोस्टलाई उद्धृत गर्दै समाचारमा भनिएको छ कि आइतबार प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री शाहले भने, ‘प्रधानमन्त्री बनेपछि मलाई थाहा भयो कि भारतले मात्रै नेपालको भूमि अतिक्रमण गरेको छैन, नेपालले पनि धेरै ठाउँमा भारतको भूमि अतिक्रमण गरेको छ।’

 त्यस्तै, नवभारत टाइम्सले उल्लेख गरेको छ, ‘नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा विवादबारे अभिव्यक्ति दिएका छन्। शाहले नेपाल–भारतबीचका विवादित विषयहरू संवाद र वार्तामार्फत समाधान गर्नुपर्ने बताएका छन्। 

साथै, लिपुलेकको विषयमा बेलायतको सम्भावित मध्यस्थताको प्रसंग उठाउँदै विवादलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान खोजेको आरोप पनि समाचारमा गरिएको छ। भारतले भने लिपुलेकमाथिको नेपालको दाबीलाई पूर्ण रूपमा अस्वीकार गर्दै आएको उल्लेख गरिएको छ। त्यस्तै, बालेन शाहले तेस्रो पक्षको मध्यस्थता मार्फत विवादलाई वैधानिकता दिन खोजेको दाबी पनि समाचारमा गरिएको छ।’ 

काठमाण्डु पोस्टलाई उद्धृत गर्दै समाचारमा भनिएको छ कि आइतबार संसदमा एक प्रश्नको जवाफ दिने क्रममा बालेन शाहले भने, ‘प्रधानमन्त्री बनेपछि मलाई थाहा भयो कि भारतले मात्रै नेपालको भूमि कब्जा गरेको छैन। नेपालले पनि धेरै ठाउँमा भारतको भूमि कब्जा गरेको छ। यसको सही उपाय भनेको दुवै पक्ष बसेर यो विषय समाधान गर्नु हो।’ 

जी न्युजले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको भूमिमा अतिक्रमण गरेको स्वीकार गरेको भन्दै समाचारमा उल्लेख गरेको छ । 

जी न्युजका अनुसार यो महत्वपूर्ण अभिव्यक्ति प्रधानमन्त्री शाहले आज प्रतिनिधिसभामा नेकपा एमालेका एक सांसदको प्रश्नको जवाफ दिने क्रममा दिएको बताइएको छ। जी न्युजले लेखेको छ, ‘प्रधानमन्त्री शाहले नेपाल-भारतबीचको सीमा विवाद कूटनीतिक वार्तामार्फत नै समाधान गर्न सकिने विश्वास व्यक्त गरेका छन्। 

‘उनले दुवै पक्षबीच सीमा सम्बन्धी विषयमा संवाद गर्ने र तथ्यगत अध्ययन तथा छानबिनमार्फत समाधान खोज्ने प्रतिबद्धता पनि जनाएका छन्,’ जी ले उल्लेख गरेको छ। 

विद्युत करबारे अर्थमन्त्री वाग्लेको बचाउ

काठमाडौं। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार पहिलो पटक पत्रकार सम्मेलन गर्दै बजेटका मुख्य प्रावधानहरूको बचाउ गरेका छन्।

अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेटको आकार, कर नीति र ऊर्जा क्षेत्रमा गरिएको लगानीबारे विस्तृत व्याख्या गरे।

अर्थमन्त्री वाग्लेले बजारमा २५ खर्ब रुपैयाँको बजेट आउने हल्ला चले पनि वास्तविक बजेट २१ खर्ब २४ अर्ब रुपैयाँको मात्रै रहेको स्पष्ट पारे। उनले भने, ‘बजारमा २५ खर्बको बजेट आउँछ भनेर हल्ला गर्दै थिए, २१ खर्ब २४ अर्बको मात्रै बजेट ल्याएको छु।’

उनका अनुसार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ७४ खर्ब ५८ अर्ब रुपैयाँ प्रक्षेपण गरिएको छ। साथै, सरकारले जीडीपीको ५ प्रतिशत सीमाभित्र रहेर ऋण व्यवस्थापन गर्ने नीति अपनाएको उनले दाबी गरे।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई दबाउने नियत सरकारको नभएको स्पष्ट पारे। निजी क्षेत्रको सेवा सुविधा यथावत राख्दै सार्वजनिक शिक्षा सुधारमा सरकारले ध्यान केन्द्रित गर्ने उनको भनाइ थियो।

उनले ३ लाख १३ हजार दलित बालबालिकाको पोषणका लागि सरकारले करिब ८ अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिए। निजी विद्यालयमा लिइने शुल्क समायोजन गरी सार्वजनिक शिक्षा सुधारमा लगानी गर्ने नीति पनि बजेटमा समेटिएको उनले बताए।

बजेटमा पहिलोपटक बिजुलीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यो निर्णयको असर न्यून हुने दाबी गरे।

उनले भने, ‘५० युनिटसम्म कुनै कर लाग्दैन, न्यून आय भएका उपभोक्तालाई असर पर्दैन।’

उनका अनुसार ५१ देखि १५० युनिट खपत गर्ने करिब १२ लाख घरधुरीलाई मासिक करिब २४ रुपैयाँ मात्र अतिरिक्त भार पर्नेछ। त्यस्तै १५१ देखि २५० युनिट खपत गर्ने उपभोक्तालाई २५ देखि १०० रुपैयाँसम्म मात्र अतिरिक्त खर्च पर्ने उनको भनाइ छ।

अर्थमन्त्रीले ५० युनिट निःशुल्क र न्यून खपतमा कर नलाग्ने व्यवस्थाले समग्रमा करको प्रभाव सीमित रहने दाबी गरे।

वाग्लेले ऊर्जा क्षेत्रको विकासका लागि उत्पादन, प्रसारण र वितरण प्रणालीमा ८५ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए। उनले वितरण प्रणाली कमजोर भएकाले तत्काल सुधार आवश्यक रहेको बताए।

उनका अनुसार भविष्यमा सबै घरमा विद्युतीय उपकरण र सवारीसाधनको प्रयोग बढ्दा अहिलेको संरचनाले भार धान्न नसक्ने अवस्था आउन सक्छ। त्यसैले पूर्वाधार विस्तारका लागि स्रोत जुटाउन भ्याट आवश्यक भएको उनको तर्क थियो। उनले भने, ‘पूर्वाधार अपग्रेडका लागि अनिवार्य खर्च जुटाउने एउटा विकल्प बिजुलीमा भ्याट हो।’

उनका अनुसार आगामी ३-४ वर्षमा वितरण प्रणाली सुधारमा केन्द्रित हुने सरकारको योजना छ।

अर्थमन्त्री वाग्लेले पुँजीगत लाभकर सम्बन्धी व्यवस्था अन्तिम भइसकेको स्पष्ट पारे। उनका अनुसार सूचीकृत कम्पनीको धितोपत्र बिक्रीमा लाग्ने पुँजीगत लाभकर नै अन्तिम कर हुने व्यवस्था कायम गरिएको छ।

हालको व्यवस्थाअनुसार एक वर्षभन्दा कम अवधि होल्ड गरेको सेयरमा १० प्रतिशत र एक वर्षभन्दा बढी होल्ड गरेकोमा ७.५ प्रतिशत कर लाग्ने व्यवस्था रहेको उनले बताए।

उनले ४० लाख रुपैयाँसम्म आम्दानी गर्नेका लागि पुँजीगत लाभकर नै अन्तिम हुने र त्यसभन्दा माथि आम्दानी गर्नेले मात्र आय विवरण पेस गर्नुपर्ने जानकारी दिए।

अर्थमन्त्री वाग्लेले बजेटलाई दीर्घकालीन संरचनात्मक सुधार, ऊर्जा पूर्वाधार विस्तार र कर प्रणाली सन्तुलनको प्रयासका रूपमा प्रस्तुत गर्दै आलोचनाबीच यसको बचाउ गरेका छन्।

प्रचण्डको स्वास्थ्य अवस्था कस्तो छ ?

काठमाडौं।  नेपाल मेडिसिटी अस्पतालले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था हाल ‘स्थिर’ रहेको जनाएको छ।

अस्पतालले जारी गरेको स्वास्थ्य बुलेटिन अनुसार उनलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको हो। प्रारम्भिक परीक्षणपछि उनलाई हल्का निमोनिया संक्रमण भएको पुष्टि भएको अस्पतालले जनाएको छ।

स्वास्थ्य बुलेटिनमा उल्लेख छ, ‘उहाँलाई हल्का निमोनिया संक्रमण भएको पाइयो जसको लागि आवश्यक अनुसन्धान गरिएको छ र उपचार सुरु गरिएको छ। उपचारमा राम्रो प्रतिक्रिया दिइरहनुभएको छ।’

अस्पतालका अनुसार हाल उनको अवस्था स्थिर रहेको छ र चिकित्सकहरूको निरन्तर निगरानीमा उपचार भइरहेको छ। चिकित्सकहरूले आवश्यक उपचार प्रक्रिया जारी राखेका छन्।

अस्पताल स्रोतका अनुसार उनी आगामी दुईदेखि तीन दिनसम्म अस्पतालमै चिकित्सकीय निगरानीमा रहने सम्भावना छ।

प्रचण्डको स्वास्थ्यबारे थप जानकारी अवस्था अनुसार सार्वजनिक गरिने अस्पतालले जनाएको छ।

राष्ट्रवादी शक्ति निर्माणमा जुट्न राप्रपा छाड्न लागेका धवलशम्शेरको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशम्शेर राणाले नयाँ राजनीतिक दल गठनको तयारीबीच देशभरका राष्ट्रवादी शक्ति र युवापुस्तालाई नयाँ अभियानमा सहभागी हुन आह्वान गरेका छन्।

सोमबार सार्वजनिक आह्वानमार्फत् राणाले देशमा ‘विश्वसनीय राष्ट्रवादी शक्ति’ निर्माण गर्ने उद्देश्यका साथ आफ्नो आगामी राजनीतिक यात्रा तय गर्ने निर्णय गरेको बताएका छन्।

देशभित्र र विदेशमा रहेका नेपालीहरूबाट प्राप्त सुझाव, सल्लाह र शुभेच्छाका आधारमा नयाँ बाटो रोज्ने निष्कर्षमा पुगेको उनको भनाइ छ।

‘शुभेच्छुक, सहयोद्धा तथा सहयात्रीहरूको राय-सल्लाह बमोजिम देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको छु,’ उनले भने ।

उनले देशलाई माया गर्ने, राष्ट्रिय स्वाभिमानको पक्षमा उभिने तथा नेपालको समृद्धि चाहने सम्पूर्ण राष्ट्रवादी शक्तिलाई नयाँ अभियानमा सहभागी हुन आग्रह गरेका छन्। विशेषगरी युवापुस्तालाई परिवर्तनको अभियानमा जोडिन उनले आह्वान गरेका छन्।

राणाले राप्रपाको पछिल्लो राजनीतिक अवस्थाप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। विगत चार वर्ष पार्टीलाई जनभावनाअनुकूल ढंगले अघि बढाउने प्रयास गरिएको दाबी गर्दै उनले पार्टीभित्रको सैद्धान्तिक द्विविधा र आन्तरिक विरोधाभासका कारण राप्रपा गलत दिशातर्फ गएको आरोप लगाएका छन्।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विगत चार वर्ष जनभावनाअनुकूल अघि बढाउने प्रयास गर्‍यौं। तर, विरोधाभास र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिँड्ने हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भयो,’ राणाको भनाइ छ ।

उनले राप्रपामा आबद्ध नेता-कार्यकर्ताप्रति कुनै कटुता नरहेको उल्लेख गर्दै पार्टीमै रहन चाहनेहरूलाई शुभकामना दिएका छन्। तर, राष्ट्रवादी विचार र मान्यतालाई स्पष्ट लक्ष्य तथा दिशासहित अघि बढाउन चाहनेहरूलाई भने नयाँ अभियानमा एकताबद्ध हुन आग्रह गरेका छन्।

राणाको यो अपिललाई राप्रपाबाट अलग भएर नयाँ दल गठन गर्ने तयारीको औपचारिक संकेतका रूपमा हेरिएको छ।

पछिल्लो समय पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व, कार्यशैली र राजनीतिक रणनीतिप्रति असन्तुष्टि जनाउँदै आएका राणा निकट नेताहरू नयाँ राजनीतिक विकल्प निर्माणको गृहकार्यमा रहेको चर्चा चलिरहेको छ।

आईपीएल फाइनल : गुजरात र आरसिबी उपाधिका लागि भिड्दै

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल आइतवार हुँदैछ। आइतवार गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) उपाधिका लागि आमनेसामने हुनेछन्।

अहमदाबादस्थित घरेलु मैदानमा हुने यस निर्णायक खेलले नयाँ च्याम्पियनको टुंगो लगाउनेछ।

गुजरात टाइटन्स घरेलु मैदानको फाइदा उठाउँदै उपाधि जित्ने लक्ष्यमा छ। टोलीले पछिल्ला सिजनहरूमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा स्थापित गरिसकेको छ। अर्कोतर्फ आरसिबी पनि यस सिजन अत्यन्त राम्रो लयमा देखिएको छ र लगातार दोस्रो आईपीएल उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रँदैछ।

दुवै टोलीबीचको प्रतिस्पर्धा बराबरी स्तरको भएकाले फाइनललाई निकै रोमाञ्चक मानिएको छ। यसअघि क्वालिफायर-१ मा आरसिबीले गुजरात टाइटन्सलाई पराजित गरेको थियो भने लिग चरणको अहमदाबाद खेलमा गुजरात विजयी बनेको थियो।

यही कारणले दुवै टोलीबीचको सन्तुलनले फाइनललाई अझ अनिश्चित र प्रतिस्पर्धात्मक बनाएको छ। अहमदाबादमा खेलिनु गुजरातका लागि ठूलो मनोवैज्ञानिक फाइदा मानिएको छ। तर फाइनलअघि टोलीको यात्रा ढिलाइ भएकाले पर्याप्त विश्राम नपाएको अवस्था पनि रहेको छ। जसले केही चुनौती थप्न सक्छ।

यद्यपि घरेलु मैदानमा दर्शकको समर्थनले टोलीलाई थप ऊर्जा दिने अपेक्षा गरिएको छ।

आरसिबी भने यस सिजन उत्कृष्ट ब्याटिङ र बलिङ सन्तुलनका कारण बलियो देखिएको छ। क्वालिफायर-१ मा टोलीका शीर्ष पाँच ब्याटरहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्लेअफ इतिहासकै उच्च स्कोर बनाएका थिए।

१८ वर्षपछि पहिलो पटक उपाधि जितेको आरसिबी अहिले लगातार दोस्रो ट्रफी जित्ने लक्ष्यमा छ।

गुजरात टाइटन्सको सबैभन्दा ठूलो शक्ति यसको बलिङ आक्रमण हो। कागिसो रबाडा र मोहम्मद सिराजले पावरप्लेमा विपक्षीलाई निरन्तर दबाबमा राख्दै धेरै खेलमा टोलीलाई सफलता दिलाएका छन्। उनीहरूको तीव्र बलिङ र सटीक लाइन-लेंथ यस सिजन गुजरातको मुख्य हतियार बनेको छ।

आरसिबीका लागि टिम डेभिड एक महत्वपूर्ण खेलाडीका रूपमा हेरिएका छन्। उनी कुनै पनि समयमा खेलको दिशा परिवर्तन गर्न सक्ने क्षमता राख्छन्। यद्यपि पछिल्ला खेलमा उनको प्रदर्शन अस्थिर देखिए पनि निर्णायक क्षणमा ठूलो इनिङ्स खेल्ने सम्भावना सधैं रहन्छ।

गुजरात टाइटन्सका लागि जेसन होल्डर पनि महत्वपूर्ण खेलाडी हुन्। उनले यस सिजन कम इकोनोमीमा विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका छन् र टोलीलाई सन्तुलन प्रदान गरेका छन्। त्यस्तै, राशिद खान, जोस बटलर र शुभमन गिलको भूमिका पनि निर्णायक हुनेछ।

अहमदाबादको पिच सामान्यतया दोस्रो इनिङ्समा ब्याटिङ गर्ने टोलीका लागि अनुकूल मानिन्छ। पछिल्ला तथ्यांकअनुसार धेरै फाइनल खेलहरू लक्ष्य पछ्याउने टोलीले जितेका छन्, जसले आजको खेलमा टसको भूमिकालाई अझ महत्वपूर्ण बनाएको छ।

आरसिबीको सम्भावित टोलीमा विराट कोहली, फिल साल्ट वा वेंकटेश अय्यर, देवदत्त पडिक्कल, रजत पाटीदार (कप्तान), कृणाल पाण्ड्या, टिम डेभिड, जितेश शर्मा (विकेटकिपर), रोमारियो शेफर्ड, भुवनेश्वर कुमार, जोश हेजलवुड, रसिख सलाम र जेकब डफी वा सुयश शर्मा रहेका छन्।

गुजरात टाइटन्सको सम्भावित टोलीमा शुभमन गिल (कप्तान), बी साई सुदर्शन, जोस बटलर (विकेटकिपर), वासिङ्टन सुन्दर, निशान्त सिन्धु, जेसन होल्डर, राहुल तेवतिया, राशिद खान, आर साई किशोर, कागिसो रबाडा, प्रसिद्ध कृष्णा र मोहम्मद सिराज रहेका छन्।

यस सिजनका रोचक तथ्यांकअनुसार कागिसो रबाडाले १५० किलोमिटर प्रतिघण्टाभन्दा बढी गतिमा बलिङ गरेका छन् भने विराट कोहली निरन्तर आक्रामक लयमा रन बनाइरहेका छन्। शुभमन गिलको अहमदाबादमा टी-२० रेकर्ड उत्कृष्ट रहेको छ। त्यस्तै, जोश हेजलवुडले अहिलेसम्म खेलेका सबै टी–२० फाइनल जितेका छन्।

आजको फाइनल केवल उपाधिको लडाइँ मात्र नभई रणनीति, अनुभव र दबाब व्यवस्थापनको परीक्षा पनि हुनेछ।

गुजरात टाइटन्स घरेलु मैदानको फाइदा उठाउँदै उपाधि जित्ने लक्ष्यमा छ भने आरसिबी लगातार दोस्रो ट्रफी जितेर इतिहास दोहोर्याउने तयारीमा छ।

उघ्रियो बालेनको राष्ट्रवादको मुखुण्डो (टिप्पणी)

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिले उनको राष्ट्रवादमाथि गम्भीर प्रश्न उठाएको छ।

काठमाडौं महानगरपालिकाको मेयर हुँदा ‘ग्रेटर नेपाल’को नक्सा राखेर राष्ट्रवादी नेता हुने चेष्टा गरेका थिए ।

प्रधानमन्त्री बनेपछि भने राष्ट्रहित विपरीतका अभिव्यक्ति दिए । संसदमा आइतबार उनले ‘भारतले नेपालको मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँ मिचेको रहेछ ।’ यसपछि उनको देशभर आलोचना सुरु भएको छ।

मेयर हुँदा उनी राष्ट्रिय स्वाभिमान, भ्रष्टाचारविरोध र विदेशी हस्तक्षेपका विषयमा कडा टिप्पणी गर्थे। युवापुस्ताको ठूलो समूहले उनलाई परम्परागत राजनीतिक नेतृत्वको विकल्पका रूपमा हेर्न थालेको थियो। त्यही कारण उनको राष्ट्रवादलाई धेरैले आशा र भरोसाका रूपमा लिएका थिए।

तर, प्रधानमन्त्री बनेपछि संसदमा आएको उनको अभिव्यक्तिले त्यो छविमा ठूलो धक्का पुर्‍याएको छ। नेपाल-भारत सीमा विवाद कुनै सामान्य विषय होइन। यो नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र भूगोलसँग प्रत्यक्ष जोडिएको प्रश्न हो।

कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नेपालले आफ्नो भूमि भएको दाबी गर्दै आएको छ। नेपालको संसदले नयाँ नक्सा पारित गरिसकेको छ। संविधानको अनुसूचीमै ती भूभाग समेटिएको छ। तर भारतले ती क्षेत्र आफ्नो नियन्त्रणमा राखेको छ।

यस्तो अवस्थामा नेपालका प्रधानमन्त्रीबाट ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति आउनु राजनीतिक टिप्पणी मात्र होइन, राष्ट्रिय अडानलाई कमजोर बनाउने विषय हो।

यदि नेपालले वास्तवमै भारतको भूमि मिचेको छ भने त्यसको प्रमाण कहाँ छ ? कुन भूभाग मिचिएको हो ? नेपालको आधिकारिक नक्सामा भारतको कुनै भूमि समेटिएको छ ? यी प्रश्नहरूको उत्तर प्रधानमन्त्रीले दिन सकेका छैनन्।

स्मरण रहोस्, नेपालले भारतसँग सीमा विवाद समाधानका लागि दशकौँदेखि कूटनीतिक पहल गर्दै आएको छ। विभिन्न सरकारहरूले वार्ता, कूटनीतिक संवाद र प्रमाण प्रस्तुत गरेर आफ्नो दाबी स्थापित गरेका छन्।

यस्तो संवेदनशील अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्तिलाई भारतले नेपालकै दाबी कमजोर भएको रूपमा व्याख्या गर्न सक्ने खतरा रहन्छ। त्यसैले आलोचकहरूले यसलाई ‘जिब्रो चिप्लिएको’ घटना नभई राष्ट्रिय हितविरुद्धको गैरजिम्मेवार अभिव्यक्ति मानेका छन्।

बालेनको राजनीतिक शैलीमा एउटा विरोधाभास पनि देखिन्छ। विपक्षमा हुँदा वा स्थानीय तहमा हुँदा उनले राष्ट्रवादलाई भावनात्मक रूपमा प्रस्तुत गर्थे।

ग्रेटर नेपालको नक्सा राख्ने, ऐतिहासिक भूभागको चर्चा गर्ने र राष्ट्रिय गौरवका विषयमा आक्रोशपूर्ण अभिव्यक्ति दिने काम हुन्थ्यो। गत वर्षको साउनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा छँदा लिपुलेक नेपालको भनेर दाबी गर्न सुझाएका थिए ।

यसपछि उनी झनै राष्ट्रवादी नेता बनेका थिए ।तर जब राज्य सञ्चालनको जिम्मेवारी आयो, त्यही राष्ट्रवाद खोक्रो राष्ट्रवाद बनेर पोखियो ।

राष्ट्रवाद नक्सा झुण्ड्याएर वा सामाजिक सञ्जालमा भावनात्मक सन्देश लेखेर स्थापित हुँदैन। राष्ट्रवाद भनेको राष्ट्रिय हितको पक्षमा तथ्य, प्रमाण र कूटनीतिक स्पष्टताका साथ उभिन सक्ने क्षमता हो।

प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेको व्यक्तिले आफ्ना शब्दहरूको प्रभाव बुझ्नुपर्छ। विशेषगरी छिमेकी मुलुकसँगको सीमा विवादजस्तो विषयमा व्यक्त गरिने प्रत्येक वाक्यले अन्तर्राष्ट्रिय सम्बन्धमा असर पार्न सक्छ।

प्रधानमन्त्री बालेनले आफूलाई नयाँ पुस्ताको प्रतिनिधि र पुरानो राजनीतिक संस्कारको विकल्पका रूपमा प्रस्तुत गरेका थिए। तर नेतृत्वको वास्तविक परीक्षा नारामा होइन, निर्णय र अभिव्यक्तिमा हुन्छ।

अहिले उठेको प्रश्न यही हो-मेयर हुँदा देखिएको राष्ट्रवाद वास्तविक थियो कि राजनीतिक ब्रान्ड निर्माणको साधन ?

नेपालजस्तो सानो र भू-राजनीतिक रूपमा संवेदनशील देशका लागि राष्ट्रिय हितको रक्षा अझ महत्वपूर्ण हुन्छ। शक्तिशाली राष्ट्रसँग विवाद हुँदा झन् स्पष्ट, तथ्यपरक र दृढ अडान आवश्यक हुन्छ।

अन्तर्राष्ट्रिय सम्बन्धको यथार्थ यही हो कि कमजोर राष्ट्रले आफ्नो दाबी प्रमाण र कूटनीतिक दृढताबाट स्थापित गर्नुपर्छ। त्यसैले आफ्नै देशको दाबीलाई कमजोर पार्ने अभिव्यक्ति राष्ट्रवाद होइन, राष्ट्रघात हो ।

बोल्नेबित्तिकै विवादमा ‘बालेन’

काठमाडौं। प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको दुई अभिव्यक्तिलाई लिएर राजनितिक र कुटनीतिक बहस छेडिएको छ।

नेपालभारत सीमा विवाद र चीनको विकास अवस्थासम्बन्धी प्रधानमन्त्रीका भनाइलाई लिएर विभिन्न दलका सांसदहरूले आपत्ति जनाउँदै तथ्यगत आधारबारे प्रश्न उठाएका छन्।

गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि प्रधानमन्त्रीको हैसियतमा पहिलो पटक सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमी मिचेको छ भने पछि संसद केहीबेर अस्वाभाविक बन्यो।

प्रधानमन्त्री शाहले आइतबारको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा विवादित टिप्पणी गरेका हुन्।

लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा नेकपा एमालेकी सांसद पद्मा अर्यालले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले नेपाल-भारत सीमाबारे बोल्दै भने, ‘तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्ला, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।’

प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएसँगै संसद्मा विरोधको भयो।  लगत्तै कांग्रेस सांसद वासना थापाले राष्ट्रिय सीमासँग सम्बन्धित विषयमा तथ्य र प्रमाणबिना गरिएको टिप्पणीले गम्भीर असर पार्न सक्ने बताइन्।

उनले भनिन्, ‘प्रधानमन्त्रीले कुन आधारमा नेपालले भारतको भूमि मिचेको भन्नुभयो ? यो निकै आपत्तिजनक छ, यसलाई संसद्को रेकर्डबाट हटाइनुपर्छ।’

उनले उक्त अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनसमेत माग गरिन्।

यस्तै प्रतिनिधिसभा सदस्य रमेश मल्लले राष्ट्रिय अखण्डता र सार्वभौमसत्तासँग जोडिएको संवेदनशील विषयमा प्रधानमन्त्रीले पर्याप्त आधारबिना टिप्पणी गरेको भन्दै प्रश्न उठाए। एमालेकी भूमिका लिम्बु र नेकपाका युवराज दुलालले समेत प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए।

त्यसैगरी नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियालाई दुई वर्ष पछाडि सारिएको विषयमा सांसदहरूको जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्रीले चीनको उदाहरण प्रस्तुत गरेका थिए।

उनले भने, ‘छिमेकी राष्ट्र चीन अस्ति भर्खरै मात्र ‘डेभलपिङ’ बाट ‘डेभलप्ड’ मा गएको हो।’

प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई पनि सांसदहरूले तथ्यगत रूपमा त्रुटिपूर्ण भएको बताएका छन्। सांसद खुश्बु ओलीले संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले अझै पनि चीनलाई विकासशील राष्ट्रकै सूचीमा राखिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाइन्।

प्रधानमन्त्रीले पर्याप्त अध्ययनबिना सार्वजनिक रूपमा अभिव्यक्ति दिँदा त्यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छविमा असर पार्न सक्ने उनको भनाइ थियो।

उनले भनिन्, ‘चीनले आफूलाई अझै विकासशील भनिरहेको अवस्थामा हाम्रा प्रधानमन्त्रीले कुन आधारमा विकसित भनेर घोषणा गर्नुभयो ? यसले भोलि कूटनीतिक खण्डन आउन सक्छ,’

प्रधानमन्त्रीका यी दुई अभिव्यक्तिपछि संसद्मा तथ्य, कूटनीतिक संवेदनशीलता र सार्वजनिक जिम्मेवारीबारे बहस चुलिएको छ।

यद्यपी, नेपालले भारतको भूमि अतिक्रमण नगरेको  तर सीमावर्ती केही क्षेत्रमा नेपाली र भारतीय नागरिकले एकअर्काको भूमिमा लामो समयदेखि भोगचलन गर्दै आएको अवस्था रहेको सीमाविदहरू बताउँछन्।

वीरगञ्जको सिर्सिया नदी क्षेत्रलाई यसको उदाहरणका रूपमा उल्लेख लिन सकिन्छ। सीमा विदहरू यस्तो अवस्थालाई लिम्पियाधुरा, कालापानी र सुस्ताजस्ता गम्भीर सीमा विवादसँग तुलना गर्न नमिल्ने बताउँछन्।

सीमाविदहरूका अनुसार अनुसार ती क्षेत्र राज्यस्तरका सीमा विवाद हुन्। ‘क्रस होल्डिङ अकुपेसन’ स्थानीय स्तरको भोगचलनसँग सम्बन्धित विषय भएकाले प्रधानमन्त्रीले त्यसरी संसदमै उक्त कुरा राख्न नहुने विज्ञहरूको तर्क छ।

‘अमेरिकी प्रविधिले नेपाली पर्वतारोहणलाई अझ सुरक्षित र आधुनिक बनाउन सक्छ’

काठमाडौं। संयुक्त राज्य अमेरिकाकी सार्वजनिक कूटनीति सम्बन्धी उप-विदेशमन्त्री सारा बी. रोजर्स दक्षिण तथा मध्य एसिया भ्रमणअन्तर्गत भारतको भ्रमण सम्पन्न गरी काठमाडौं आइपुगेकी छन्।

उनी संयुक्त राज्य अमेरिका-नेपाल दूतावासले आयोजना गरेको ‘असेन्ट समिट’मा सहभागी हुन नेपाल आएकी हुन्।

कार्यक्रममा उपविदेशमन्त्री सारा बी रोजर्सले नेपाली पर्वतारोहण तथा हिमाली पर्यटन क्षेत्रमा अमेरिकी प्रविधिले महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने बताएकी छन्।

नेपालस्थित अमेरिकी दूतावासले आयोजना गरेको ‘द एसेन्ट समिट’ कार्यक्रममा बोल्दै उनले नेपाल र अमेरिकाबीच नवप्रवर्तन, पर्यटन र प्रविधिमा आधारित सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याएकी हुन्।

उनले संयुक्त राज्य अमेरिका केवल आर्थिक समृद्धि र अवसरको भूमि मात्र नभई साहस, अन्वेषण र नवप्रवर्तनको भावनाबाट निर्माण भएको राष्ट्र भएको उल्लेख गरिन्। विश्वको सर्वोच्च शिखर सगरमाथाले दशकौँदेखि विश्वभरका साहसिक पर्यटक, अनुसन्धानकर्ता र पर्वतारोहीलाई प्रेरणा दिँदै आएको उनको भनाइ थियो।

रोजर्सले सन् १९६३ मा अमेरिकी पर्वतारोही जिम ह्विटेकर र नेपाली शेर्पा नावाङ गोम्बुले संयुक्त रूपमा सगरमाथा आरोहण गरेको ऐतिहासिक क्षण स्मरण गर्दै उक्त सफलताले नेपाल–अमेरिका सम्बन्धलाई थप उचाइमा पुर्‍याएको बताइन्।

उनले छ दशकभन्दा बढी समय बितिसक्दा पनि पर्यटन, शिक्षा, व्यापार, प्रविधि र जनस्तरको सम्बन्धमार्फत दुई देशबीचको साझेदारी निरन्तर बलियो बन्दै गएको उल्लेख गरिन्।

उनका अनुसार अमेरिकी कम्पनीहरूले विकास गरेका आधुनिक सुरक्षा प्रणाली, सञ्चार उपकरण, ड्रोन प्रविधि तथा अभियान व्यवस्थापनसम्बन्धी प्रविधिहरू नेपाली हिमाली पर्यटनका लागि अत्यन्त उपयोगी हुन सक्छन्।

यस्ता प्रविधिले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउनुका साथै मौसमसम्बन्धी पूर्वतयारी, जोखिम व्यवस्थापन, लजिस्टिक्स सञ्चालन र पर्वतारोहण सुरक्षामा समेत महत्वपूर्ण सहयोग पुर्‍याउन सक्ने उनले बताइन्।

रोजर्सले सन् २०२५ मा नेपालमा ११ लाख ५० हजारभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटक भित्रिएको तथ्य प्रस्तुत गर्दै अमेरिकाबाट मात्रै करिब एक लाख १२ हजार पर्यटक नेपाल आएको जानकारी दिइन्।

अमेरिकी पर्यटकहरूले नेपालको पर्यटन उद्योग, होटल व्यवसाय, ट्रेकिङ तथा गाइड सेवा, यातायात र स्थानीय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याइरहेको उनको भनाइ थियो।
नेपाललाई अमेरिकाको विश्वासिलो साझेदारका रूपमा चित्रण गर्दै उनले नवप्रवर्तन, उद्यमशीलता, शिक्षा र सुरक्षित प्रविधि समाधानका क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका प्रतिबद्ध रहेको स्पष्ट पारिन्।

हिमालहरूले संसारलाई साहस, धैर्य र सहकार्यको पाठ सिकाउने उल्लेख गर्दै उनले यही मूल्यले नेपाल-अमेरिका सम्बन्धलाई पनि मार्गदर्शन गरिरहेको बताइन्।
‘हिमालमा सफलता केवल शिखरमा पुग्नु मात्र होइन, त्यो यात्रा कससँग गरिन्छ भन्ने कुराले पनि निर्धारण गर्छ,’ उनले भनिन्, ‘संयुक्त राज्य अमेरिका नेपालसँगको ७९ वर्ष पुरानो मित्रतालाई गर्वका साथ अगाडि बढाउँदै भविष्यमा अझ धेरै सफलताको शिखरहरू सँगै चढ्न चाहन्छ।’

कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सभापति सुम्निमा उदासले सगरमाथा नेपालको अन्तर्राष्ट्रिय पहिचान, राष्ट्रिय गौरव र आर्थिक समृद्धिको प्रमुख आधारमध्ये एक भएको बताइन्।

उनले सगरमाथाले विश्वसामु नेपालको परिचय स्थापित गर्न अतुलनीय भूमिका खेलेको उल्लेख गर्दै पर्वतीय पर्यटन देशको अर्थतन्त्रको महत्वपूर्ण स्तम्भ बनेको धारणा राखिन्। उनका अनुसार यस क्षेत्रले वायुसेवा कम्पनी, होटल, रेष्टुरेन्ट, ट्राभल एजेन्सी, गाइड, भरिया, स्थानीय व्यवसायी तथा हिमाली समुदायहरूको जीविकोपार्जनमा ठूलो योगदान पुर्‍याइरहेको छ।

उदासले हरेक वर्ष हजारौँ विदेशी पर्यटक, पर्वतारोही, अनुसन्धानकर्ता, चलचित्र निर्माता तथा साहसिक यात्रुहरू हिमालको आकर्षणले नेपाल आउने गरेको उल्लेख गरिन्।

पश्चिम एसियामा देखिएको अस्थिरता र सङ्कटले समग्र पर्यटन क्षेत्रमा असर पारे पनि पर्वतारोहण गतिविधि तुलनात्मक रूपमा स्थिर रहनुले नेपालको हिमाली पर्यटनप्रतिको विश्वव्यापी आकर्षण अझै बलियो रहेको प्रमाणित गरेको उनको भनाइ थियो।

सभापति उदासले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा गम्भीर असर पुर्‍याइरहेको भन्दै हिमनदीहरू तीव्र गतिमा पग्लिरहेको, पुराना आरोहण मार्गहरू परिवर्तन भइरहेको र वातावरणीय चुनौतीहरू बढ्दै गएको बताइन्। ‘हाम्रा हिमालहरूले नेपाललाई विश्वभर चिनाएका छन्, अब तिनको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो,’ उनले भनिन्।

उनले फोहोर व्यवस्थापन, भीड नियन्त्रण, वातावरणीय दिगोपना तथा पर्वतीय सुरक्षाका विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याइन्। साथै जलवायु अनुसन्धान, खोज तथा उद्धार, वातावरण संरक्षण, पर्यटन मापदण्ड र पर्वतीय सुरक्षाका क्षेत्रमा सरकार, निजी क्षेत्र, स्थानीय समुदाय तथा अन्तर्राष्ट्रिय साझेदारबीच घनिष्ठ सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरिन्।

पर्यटन क्षेत्रमा पारदर्शिता र जवाफदेहिताको आवश्यकता औँल्याउँदै उनले विगतमा देखिएका नक्कली उद्धार उडान तथा सुरक्षा मापदण्डसम्बन्धी केही घटनाले नेपालको अन्तर्राष्ट्रिय छविमा असर पारेको बताइन्।

यस्ता समस्या समाधानका लागि सरकार र पर्यटन क्षेत्रका सरोकारवालाहरू मिलेर काम गरिरहेको जानकारी दिँदै उनले नेपालको प्रतिष्ठा थप मजबुत बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइन्।

उदासले हालै संसद्मा दर्ता भएको नयाँ पर्यटन विधेयकलाई नेपालको पर्यटन क्षेत्रका लागि ऐतिहासिक अवसरको रूपमा व्याख्या गर्दै यसको उद्देश्य केवल पर्यटन नियमन नभई नेपालको पर्यटनको भविष्य निर्माण गर्नु रहेको बताइन्।

स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने, वातावरण संरक्षणसँगै आर्थिक अवसर विस्तार हुने तथा नेपाललाई विश्वकै अग्रणी दिगो पर्वतीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने दिशामा नीति निर्माण हुनुपर्ने उनको धारणा थियो।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि नेपाल भ्रमण गर्ने उनी हालसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्।

साथै, गत चैत १४ गते सरकार गठनयता नेपाल भ्रमण गर्ने उनी तेस्रो वरिष्ठ अमेरिकी अधिकारी पनि हुन्।

तस्वीरहरू:

प्रतिनिधि सभा निर्वाचन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित गरिएको छ।

आइतबार बसेको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित आएको उक्त विधेयक कुनै विरोधबिना स्वीकृत गरेको हो।

विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले समावेशीता र प्रतिनिधित्वसम्बन्धी प्रावधानलाई अझ स्पष्ट र प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका थिए।

यस विषयमा विभिन्न संशोधन प्रस्तावसमेत दर्ता भए पनि छलफलपछि ती सबै प्रस्ताव फिर्ता लिइएको बैठकमा जानकारी दिइयो।

छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सरकार समावेशी प्रतिनिधित्वप्रति सकारात्मक रहेको बताइन्।

उनले २०७८ सालको जनगणनाको तथ्यांकका आधारमा विधेयक तयार गरिएको उल्लेख गर्दै तथ्यांक परिवर्तन गर्न नसकिने स्पष्ट पारिन्।

साथै मधेशी, दलित, पिछडिएको समुदाय तथा अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्ने विषयलाई सरकारले सकारात्मक रूपमा लिएको उनले बताइन्।

मन्त्री गौतमले भनिन्, ‘प्राविधिक हिसाबले संशोधनमा आएका सकारात्मक विषयहरूलाई सरकारले सकारात्मक रूपमा लिएको छ। मधेशी दलित, पिछडिएको नागरिक र अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ भन्ने कुरा सकारात्मक छ।’

उनका अनुसार समावेशी प्रतिनिधित्वसम्बन्धी व्यवस्था विधेयकको मूल संरचनामै समेटिएको भए पनि कानुनी तर्जुमामा केही प्राविधिक जटिलता देखिएको छ।

सरकारले आगामी दिनमा निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने नयाँ विधेयक ल्याउने तयारी गरेको र त्यस क्रममा सबै उठेका संशोधन तथा सुझाव समेटिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

नेपालले भारतको सीमा मिचेको छैन : सीमाविद

काठमाडौं।  नेपाल-भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रस्तुत गरेको धारणा र संसदमा गरिएको व्याख्यापछि ‘क्रस होल्डिङ अकुपेसन’ अवधारणाबारे नयाँ बहस सुरु भएको छ।

प्रधानमन्त्री शाहले नेपालले भारतको भूमि अतिक्रमण नगरेको र सीमा मिच्ने कार्य नगरेको स्पष्ट पार्दै, सीमावर्ती केही स्थानमा भने आवादी तथा भोगचलनका आधारमा क्रस होल्डिङ अकुपेसनको अवस्था रहेको उल्लेख गरेका छन्।

उनका अनुसार यस्तो अवस्थामा भारतीय किसानले नेपाली भूमिमा र नेपाली किसानले भारतीय भूमिमा भोगचलन गर्दै आएका उदाहरणहरू भेटिन्छन्। वीरगन्ज महानगरपालिका क्षेत्रको सिर्सिया नदीलाई यसको उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।

सुगौली सन्धिपछि सिर्सिया नदी प्रारम्भमा सोझो रूपमा बग्ने भए पनि पछि धार परिवर्तन भई सर्पाकार बनेपछि दुवै देशका किसानहरू आ-आफ्नो भोगचलन अनुसार जमिन प्रयोग गर्दै आएका छन्। यसै कारण केही स्थानमा सीमापार भोगचलनको अवस्था सिर्जना भएको बताइएको छ।

तर प्रधानमन्त्रीले लिम्पियाधुरा, कालापानी र सुस्ताजस्ता क्षेत्रसँग यसलाई तुलना गर्न नमिल्ने स्पष्ट पारेका छन्। उनका अनुसार ती क्षेत्र करिब ३७२ वर्ग किलोमिटर भूभागसँग सम्बन्धित गम्भीर सीमा विवाद हुन्, जबकि क्रस होल्डिङ अकुपेसन सीमावर्ती साना साना भूभाग र व्यक्तिगत भोगचलनसँग सम्बन्धित विषय हो।

प्रधानमन्त्रीले सीमा विवाद समाधानका लागि कूटनीतिक संवादलाई प्राथमिकता दिइएको उल्लेख गर्दै बेलायत सरकारसँग पनि छलफल भएको बताएका छन्। तर नेपाल–भारत सीमा विषयमा बेलायतसँग औपचारिक संवाद भएको जानकारी सार्वजनिक रूपमा पुष्टि नभएको भन्दै यसबारे स्पष्टता आवश्यक रहेको टिप्पणीसमेत गरिएको छ।

सुगौली सन्धि नेपाल र ब्रिटिस इन्डियाबीच भएको ऐतिहासिक सन्धि भएकाले आवश्यक परे तेस्रो पक्षको मध्यस्थता उपयोगी हुन सक्ने धारणा पनि व्यक्त गरिएको छ।

विश्लेषकहरूका अनुसार आपसी संवाद असफल भएमा तेस्रो पक्षमार्फत मध्यस्थता खोज्नु कूटनीतिक रूपमा स्वीकार्य विकल्प हुन सक्छ। लामो समयदेखि समाधान नभएको लिपुलेक, कालापानी र लिम्पियाधुरा विवादका सन्दर्भमा यस्ता पहलहरूलाई महत्वपूर्ण कूटनीतिक प्रयासका रूपमा हेरिएको छ।

संसदमा आशिका आक्रोशित भएपछी…

काठमाडौं। आइतबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ आक्रोशित रूपमा प्रस्तुत भएकी छन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सांसदहरूको प्रश्नको जवाफ दिएर बैठक कक्षबाट बाहिरिएपछि विपक्षी दलहरू एमाले, श्रम संस्कृति पार्टीलगायतका सांसदहरूले नियमापत्ति जनाइरहेका बेला तामाङ आक्रामक शैलीमा आक्रोश व्यक्त गरेकी हुन्।

बैठकका क्रममा उनी आफ्नो सिटबाट उठेर अगाडि बढ्न खोजेपछि रास्वपाकै सांसदहरूले उनलाई रोक्ने प्रयास गरेका थिए।

तर, उनको आक्रोश नियन्त्रणमा नआएपछि पार्टीका अन्य सांसदहरूले उनलाई बैठक कक्ष बाहिर लगेका थिए।

रास्वपाका सांसदहरू ज्वाला संग्रौला, रञ्जु दर्शना र रिमा विश्वकर्मा लगायतले तामाङलाई बैठक कक्ष बाहिर लगेर करिब आधा घण्टा सम्झाइबुझाइ गरेपछि पुनः बैठकमा सहभागी गराइएको हो।

बैठकमा प्रधानमन्त्रीको उपस्थितिपछि उत्पन्न राजनीतिक बहस र नियमावलीसम्बन्धी विवादका कारण केही समय असहज अवस्था सिर्जना भएको थियो।

१० दिनमै ‘दृश्यम ३’ले २१९ करोडभन्दा बढी कमायो

एजेन्सी । मलयालम सुपरस्टार मोहनलाल अभिनीत क्राइम थ्रिलर फिल्म ‘दृश्यम ३’ ले बक्स अफिसमा उत्कृष्ट व्यापार गर्दै २ सय करोडभन्दा बढीको कमाइ गरेको छ ।

फिल्मले प्रदर्शनको १० दिनमै विश्वभर २१९.६९ करोड भारतीय रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा लगातार राम्रो व्यापार गर्दै यस वर्षकै ठूलो मलयालम ब्लकबस्टरमध्ये एकको रूपमा स्थान बनाएको छ ।

भारतमा फिल्मले पछिल्ला दिनहरूमा स्थिर गति कायम राखेको बताइएको छ । ट्रेड वेबसाइट स्याक्निल्कका अनुसार ‘दृश्यम ३’ ले शनिबार मात्रै भारतमा ५.०५ करोड रुपैयाँ कमाएको छ ।

यससँगै भारतमा फिल्मको कुल नेट कमाइ ९१.३० करोड रुपैयाँ पुगेको छ भने ग्रस कमाइ १०५.९४ करोड रुपैयाँ रहेको छ ।

निर्देशक जीतु जोसेफद्वारा निर्देशित फिल्ममा मोहनलालसँगै सिद्दिकी, आशा शरथ, मीना, मुरली गोपी, अन्सिबा हसन र एस्थर अनिल लगायत कलाकारको अभिनय रहेको छ । मोहनलालले यसमा आफ्नो चर्चित पात्र जर्जकुट्टीको भूमिका पुनः निर्वाह गरेका छन् ।

‘दृश्यम ३’ मे २१ (जेठ ७) देखि प्रदर्शनमा आएको हो । नेपालमा भने यो फिल्म प्रदर्शनमा आएको छैन ।

चीनको ‘शेन्झोउ–२१’ : तीन अन्तरिक्षयात्री २१० दिनपछि पृथ्वीमा फर्किए

एजेन्सी । चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको ‘शेन्झोउ–२१’ अन्तरिक्ष अभियान सफलतापूर्वक सम्पन्न भएको छ ।

अभियानमा सहभागी तीन अन्तरिक्षयात्री झाङ लु, वु फेई र झाङ होङझाङ २१० दिनको लामो अन्तरिक्ष बसाइपछि शनिबार सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन् ।

उनीहरू शुक्रबार साँझ अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा अवतरण गरेका थिए भने शनिबार सकुशल रूपमा बेइजिङ पुगेका हुन् ।

चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमसम्बन्धी निकायका अनुसार तीनै अन्तरिक्षयात्रीको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको छ ।

अभियानका क्रममा उनीहरूले अन्तरिक्ष केन्द्रमा रहेर विभिन्न वैज्ञानिक अनुसन्धान, प्राविधिक परीक्षण तथा नियमित सञ्चालनसँग सम्बन्धित महत्वपूर्ण कार्यहरू सम्पन्न गरेका थिए ।

२१० दिनको निरन्तर बसाइ चीनको अन्तरिक्ष अनुसन्धान क्षमतामा महत्वपूर्ण उपलब्धि मानिएको छ ।

अवतरित भएपछि उनीहरूलाई चिकित्सकीय निगरानीमा राखिएको छ । प्रारम्भिक चरणमा स्वास्थ्य परीक्षण, शारीरिक अवस्थाको मूल्याङ्कन तथा पुनःस्थापना प्रक्रिया सञ्चालन गरिने बताइएको छ । लामो समय अन्तरिक्षमा बस्दा शरीरमा पर्ने प्रभावहरूको अध्ययनसमेत यस क्रममा गरिनेछ ।

सम्बन्धित निकायका अनुसार स्वास्थ्य परीक्षण र आवश्यक विश्रामपछि उनीहरूले बेइजिङमा पत्रकार सम्मेलन गर्दै आफ्नो अनुभव र अनुसन्धान उपलब्धिबारे विस्तृत जानकारी दिनेछन् ।

‘शेन्झोउ–२१’ अभियानलाई चीनको अन्तरिक्ष कार्यक्रमको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

यस सफलताले आगामी अन्तरिक्ष अनुसन्धान तथा दीर्घकालीन अभियानका लागि आधार बलियो बनाएको बताइएको छ ।

बालेनको बोलीको खण्डन गर्दै कांग्रेसले भन्यो – भारतको भूमि नेपालले कहाँ मिच्यो ?

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा बैठकमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले नेपालले पनि भारततर्फको सीमा मिचेको हुन सक्ने संकेत गरेपछि कांग्रेसले उक्त भनाइलाई गम्भीर र आपत्तिजनक भन्दै प्रतिक्रिया दिएको हो ।

उनले भनिन्, ‘भारतको भूमि नेपालले मिचेको भन्नुभयो । कहाँनेर मिचियो ? हामीलाई पनि थाहा दिनुपर्‍यो । होइन भने, दुई देशको सिमाबारे यस्तो गम्भीर र आपत्तिजनक कुरा प्रधानमन्त्रीले कसरी बोल्नुभयो ? यदि सीमा मिचेको हो भने प्रमाण देखाइयोस्, होइन भने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’

कांग्रेसकी सचेतक बासना थापाले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति प्रश्न उठाउँदै स्पष्ट प्रमाण माग गरेकी छन् ।

सभामुखले मिचेको भनिएको नियम ५६ देखि ६० सम्म के छ ?

काठमाडौं। प्रतिनिधिसभा नियमावलीको व्याख्यालाई लिएर संसदमा सभामुख डोलप्रसाद अर्याल र विपक्षी सांसदहरूबीच विवाद उत्पन्न भएको छ।

प्रधानमन्त्रीले आकस्मिक रूपमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न चाहेको सन्दर्भमा नियमावलीको प्रावधानबारे छलफल हुँदा विपक्षी दलहरूले नियमको स्पष्ट व्याख्या गर्न माग गरेका थिए।

त्यसक्रममा नेकपा एमालेका सांसद गुरु बरालले प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको बताए।

उनले प्रतिनिधिसभा नियमावलीको नियम ५६,५७,५८,५९,६० को पालना गर्न अनुरोध समेत गरे।

त्यस्तै,एमालेका सांसद ऐन महरले सभामुखले नियम मिचेको भन्दै स्वयम् सभामुखको भनाई रेकर्डबाट हटाउन माग गरे।

यस घटनाले प्रतिनिधिसभा नियमावलीको व्याख्या र कार्यान्वयनलाई लिएर संसदमा थप बहस सिर्जना गरेको छ।

नियम ५६ देखि ६० सम्म के छ ?

परिच्छेद – ९

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

५६. प्रत्यक्ष प्रश्न गर्न सकिनेः (१) प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ ।

तर उक्त दिन कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण गर्नेछ ।

(२) उपनियम (१) बमोजिमको समयमा सभामुखले प्रश्नकर्ता सदस्यको नाम बोलाउनेछ ।

(३) उपनियम (२) बमोजिम नाम बोलाइएको सदस्यले आफ्नो स्थानमा उभिएर प्रधानमन्त्रीसँग प्रश्न गर्न सक्नेछ ।

(४) उपनियम (३) बमोजिमको प्रश्नको जवाफ प्रधानमन्त्रीले तत्काल दिनु पर्नेछ ।

(५) यस नियम अन्तर्गत प्रश्न गर्दा एक दिनको बैठकमा बढीमा पन्ध्रजना सदस्यले मात्र प्रश्न सोध्न सक्नेछन् र एउटा सदस्यले सोधेको प्रश्नको जवाफ दिइसकेपछि क्रमशः अर्को प्रश्नकर्ता सदस्यको नाम बोलाइनेछ ।

५७. प्रत्यक्ष प्रशारण गर्न सकिनेः यस परिच्छेद बमोजिमको प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रमलाई सरकारी तथा अन्य सञ्चारको माध्यमबाट प्रत्यक्ष प्रशारण गर्न सकिनेछ ।

५८.  जानकारी गराउनु पर्नेः यस परिच्छेद अन्तर्गत प्रश्न गर्न इच्छुक सदस्यले आफ्नो प्रश्नको विषयको लिखित जानकारी बैठक प्रारम्भ हुनुभन्दा तीन दिन अगावै सभामुखलाई गराउनु पर्नेछ ।

५९. प्रश्न सम्बन्धी शर्त लागू हुनेः (१) नियम ४८ मा उल्लिखित प्रश्न सम्बन्धी शर्त यस परिच्छेद

अन्तर्गतको प्रश्नको हकमा पनि लागू हुनेछ र नियम ४९ बमोजिम प्रश्न गर्न नपाइने विषयमा प्रश्न गर्न पाइने छैन ।

(२) नियम ५८ बमोजिम प्राप्त प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय नियम ५० बमोजिम हुनेछ ।

(३) प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी अन्य कार्यविधि सभामुखबाट निर्धारण भए बमोजिम हुनेछ ।

६०. छलफल नगरिनेः यस परिच्छेद अन्तर्गत दिइएको जवाफको सम्बन्धमा सभामा कुनै छलफल गरिने छैन ।

नियमावली मिच्दै सभामुख

काठमाडौं। प्रतिनिधिसभा नियमावलीको व्याख्यालाई लिएर संसदमा सभामुख डोलप्रसाद अर्याल र विपक्षी सांसदहरूबीच विवाद उत्पन्न भएको छ।

प्रधानमन्त्रीले आकस्मिक रूपमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न चाहेको सन्दर्भमा नियमावलीको प्रावधानबारे छलफल हुँदा विपक्षी दलहरूले नियमको स्पष्ट व्याख्या गर्न माग गरेका थिए।

त्यसक्रममा नेकपा एमालेका सांसद गुरु बरालले प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको बताए। साथै, एक बैठकमा बढीमा १५ जना सांसदले मात्र प्रश्न सोध्न सक्ने व्यवस्था पनि स्पष्ट रूपमा उल्लेख रहेको उनले स्मरण गराए।

तर सभामुख अर्यालले १५ जनाले प्रश्न सोध्न पाउने भन्ने कुनै लिखित व्यवस्था नरहेको टिप्पणी गरे। यसैलाई लिएर नियमावलीको व्याख्यामा विवाद देखिएको हो।

तर नियमावलीको नियम ५६ को उपनियम ५ मा एक बैठकमा बढीमा १५ जना सदस्यले मात्र प्रश्न सोध्न पाउने स्पष्ट व्यवस्था उल्लेख गरिएको छ। सोही नियममा प्रश्न सोध्ने क्रम र प्रक्रिया समेत निर्धारण गरिएको छ।

त्यस्तै, प्रधानमन्त्री वा सम्बन्धित कार्यक्षेत्रसँग जोडिएका महत्वपूर्ण विषयमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा प्रश्नोत्तरका लागि निर्धारण गर्नुपर्ने व्यवस्था नियम ५६ मै उल्लेख छ।

नियम ५६ को उपनियम १ अनुसार निर्धारित दिन बैठक बस्न नसके सोको लगत्तै बस्ने बैठकको पहिलो एक घण्टा प्रश्नोत्तरका लागि छुट्याउनुपर्ने व्यवस्था पनि स्पष्ट छ।

यसैबीच नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक युवराज दुलाल र नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रश्न सोध्नका लागि तीन दिन अगावै प्रश्न बुझाउनुपर्ने व्यवस्था रहेको बताए।

तर सभामुख अर्यालले यस्तो पूर्वसूचना अनिवार्य नरहेको धारणा राखे। तर नियमावलीको नियम ५८ मा प्रश्न सोध्ने सदस्यले बैठक सुरु हुनुभन्दा तीन दिन अगावै लिखित रूपमा प्रश्न बुझाउनुपर्ने स्पष्ट व्यवस्था रहेको छ।

यस घटनाले प्रतिनिधिसभा नियमावलीको व्याख्या र कार्यान्वयनलाई लिएर संसदमा थप बहस सिर्जना गरेको छ।