`

उतारचढाव जारी,लगातार तीन दिन सुन-चाँदीको मूल्य घट्यो

काठमाडौं। पछिल्ला तीन दिनदेखि सुन र चाँदीको मूल्य लगातार घट्दै गएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वैशाख ९ गते छापावाल सुन प्रतितोला रु ३ लाख ५ हजार र चाँदी रु ५ हजार १३० मा कारोबार भएको थियो। वैशाख १० गते सुन रु ६ हजार ३०० ले घटेर रु २ लाख ९८ हजार ७०० र चाँदी रु ११० ले घटेर रु ५ हजार २० कायम भयो।

त्यसैगरी वैशाख ११ गते सुन पुनः रु २ हजार २०० ले घटेर रु २ लाख ९६ हजार ५०० र चाँदी रु ७५ ले घटेर रु ४ हजार ९४५ मा झरेको छ।

यसरी तीन दिनको अवधिमा सुन प्रतितोला कुल रु ८ हजार ५०० र चाँदी रु १८५ ले घटेको देखिएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य करिब ४ हजार ७५५ अमेरिकी डलर प्रतिऔँसबाट घटेर ४ हजार ७०५ डलरमा झरेको छ।

विशेषज्ञहरूका अनुसार सुनको मूल्य उच्च बिन्दुमा पुगेपछि लगानीकर्ताले नाफा सुरक्षित गर्न बिक्री बढाउनु, विश्व आर्थिक अनिश्चितता केही घट्नु र सुरक्षित लगानीका रूपमा सुनको मागमा कमी आउनुजस्ता कारणले मूल्यमा दबाब परेको हो।

रुदै सुकुमवासी बस्ती छाड्दै भन्छिन्- ‘छोराछोरी रोइराखेका छन् खाना खाएका छैनन्’ (भिडियो)

काठमाडौं। सरकारले उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्ती खाली गर्ने तयारी गरेसँगै प्रभावित स्थानीयहरू बस्ती छाड्न बाध्य भएका छन्।

 बस्ती खाली गर्ने निर्देशनसँगै कतिपय परिवारहरू रुँदै आफ्नो घरजस्तो बसोबास छाड्न बाध्य भएका हुन् ।

सोही क्रममा बस्ती छाड्दै गरेकी एक स्थानीय महिलाले भावुक हुँदै भनिन्, ‘छोराछोरी रोइराखेका छन्, खाना खाएका छैनन्।’

उनले आफुहरुलाई सरकारले तल्लो दर्जाको नागरिकको व्यवहार गरेको बताइन।

सरकारले सुकुम्बासी बस्ती खाली गराउने निर्णय गरे संगै प्रधानमन्त्री बालेन्द्र शाहको चौतर्फी आलोचना हुन थालेको छ।

सरकारको निर्देशनअनुसार प्रहरीले बिहीबार साँझदेखि नै प्रभावित क्षेत्रमा माइकिङ सुरु गरेको थियो। सुकुम्बासीहरूलाई शुक्रबार साँझसम्म बस्ती खाली गर्न सूचना दिइएको छ।

शुक्रबार दिनभर पुनः माइकिङ जारी राखिने र शनिबार बिहानैदेखि डोजर चलाउने तयारी गरिएको जनाइएको छ।

भिडियो:

डोजर रोक्न माग गर्दै सुकुम्बासीले घेरे रास्वपा कार्यालयमा (तस्वीरहरु)

काठमाडौं । सरकारले उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्ती खाली गर्ने तयारी गरेसँगै प्रभावित स्थानीयहरू विरोधमा उत्रिएका छन्। डोजर चलाउने निर्णय रोक्न माग गर्दै सुकुम्बासीहरू शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय पुगेका हुन्।

प्रदर्शनको सम्भावित तनावलाई ध्यानमा राख्दै कार्यालय परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ र सुरक्षा व्यवस्था कडा पारिएको छ।

सरकारको निर्देशनअनुसार प्रहरीले बिहीबार साँझदेखि नै प्रभावित क्षेत्रमा माइकिङ सुरु गरेको थियो। सुकुम्बासीहरूलाई शुक्रबार साँझसम्म बस्ती खाली गर्न सूचना दिइएको छ।

शुक्रबार दिनभर पुनः माइकिङ जारी राखिने र शनिबार बिहानैदेखि डोजर चलाउने तयारी गरिएको जनाइएको छ।

सुकुम्बासी बस्ती हटाउने तयारी तत्काल रोक्न सरकारलाई एम्नेस्टीको आग्रह

काठमाडौं। काठमाडौँका नदी किनारस्थित अव्यवस्थित बस्तीहरू खाली गर्ने तयारीप्रति अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल रोक्न सरकारसँग आग्रह गरेको छ।

मिडिया रिपोर्टअनुसार थापाथली, मनोहरा र सिनामङ्गलका बस्तीहरूबाट दुई दिनभित्रै निष्कासन गर्ने तयारी गरिएको छ, जसले सयौँ सीमान्तकृत व्यक्ति र परिवारहरू आवासविहीन बन्न सक्ने जोखिम रहेको एम्नेस्टीले जनाएको छ।

रिपोर्टमा काठमाडौँ महानगरपालिकाले ती बस्तीहरू खाली गर्न २४ घण्टे समयसीमा तोकेको उल्लेख छ। साथै, महानगरीय प्रहरीले वैशाख १२ गते बिहान ६ बजेदेखि भत्काउने कार्य सुरु गर्ने जानकारी दिएको छ। अवरोध भए कानुनी कारबाही गर्ने चेतावनीसमेत दिइएको छ।

यसैबीच, एम्नेस्टी इन्टरनेसनलले प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायलाई बस्ती हटाउन निर्देशन दिएको भन्ने रिपोर्टप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्तो कदमले नेपालको घरेलु तथा अन्तर्राष्ट्रिय मानवअधिकार दायित्व र विधिको शासनको उल्लङ्घन हुने जनाएको छ।

एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले पूर्व सूचना, परामर्श र वैकल्पिक आवासको व्यवस्था बिना गरिने कुनै पनि निष्कासन जबरजस्ती हुने र त्यसले मानवअधिकारको गम्भीर उल्लङ्घन गर्ने बताएका छन्।

उनका अनुसार सरकारको प्रतिबद्धता विपरीत यस्ता कार्यले भूमिहीन समुदायको समस्या समाधान गर्नुको सट्टा मानवअधिकार संकटमा रूपान्तरण गर्ने जोखिम रहन्छ।

संस्थाले सरकारलाई निष्कासन योजना तत्काल रोक्न र अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डअनुसार वैकल्पिक तथा मानवीय समाधान सुनिश्चित गर्न आग्रह गरेको छ।

‘एकातिर क्षमायाचना,अर्कोतिर हिरासतभित्रै दलितको शंकास्पद मृत्यु’ – रीमा विश्वकर्मा

सिन्धुली। अन्तरजातीय विवाह गरेका श्रीकृष्ण विकको सिन्धुलीको खुर्केटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा शंकास्पद मृत्यु भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद रीमा विश्वकर्माले घटनाप्रति गम्भीर आपत्ति जनाएकी छन्।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आपत्ति जनाएकी हुन्।

विश्वकर्माले लेखेकी छिन्, ‘एकातिर दलित समुदायसँग क्षमायाचना, अर्को तिर अन्तरजातीय विवाहसम्बन्धी उजुरीकै आडमा हिरासतभित्रै (दलित) नागरिकको शंकास्पद मृत्यु! न्याय देऊ सरकार।’

त्यस्तै, रास्वपाका सांसद खगेन्द्र सुनार, सोही क्षेत्रका सांसद आशिष गजुरेल र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गणेश विक जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालीन धर्नामा बसेका हुन्।

उनीहरूले घटनाको निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेका छन्। तर, प्रधानमन्त्री बालेन शाहले हालसम्म कुनै चासो नदेखाएको उनीहरूको आरोप छ।

सांसद खगेन्द्र सुनारले सिन्धुलीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र खुर्कोटका प्रहरी निरीक्षकलाई निलम्बन गर्न माग गरेका छन्।

गत ६ वैशाखमा सुनकोशी गाउँपालिका-३ का २२ वर्षीय श्रीकृष्ण विक इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका थिए। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। तर, प्रहरीले आत्महत्या भने पनि मृतककी आमा विन्दामाया विकले हत्या भएको दाबी गरेकी छन्।

मृतकले केही महिनाअघि खोटाङकी १८ वर्षीया निर्जला मगरसँग अन्तरजातीय विवाह गरेका थिए र ललितपुरको सातदोबाटोमा बस्दै आएका थिए।

सुकुम्बासी बस्ती हटाउने बालेनको एकल निर्णय : रास्वपा नै अनभिज्ञ

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएपछि थापाथलीस्थित सुकुम्बासीहरूले बस्ती खाली र प्रदर्शन सँगै थालेका छन्।

शाहको यो निर्णयपछि चौतर्फी आलोचना भइरहेको छ। केहीले उनको यस कदमलाई उचित भनेका छन् भने केहीले उनलाई ‘गरिबमारा’ को संज्ञा दिएका छन्।

प्रधानमन्त्री शाहले अतिक्रमित बस्तीहरू खाली गराउन सबै सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए। गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका उनले सुरक्षा निकायका प्रमुखसँगको भेटमा यस्तो निर्देशन दिएका हुन्।

शनिबार बिहानदेखि नै बस्ती खाली गराउन डोजर चल्ने हल्लापछि सुकुम्बासीहरूले बिहीबार साँझदेखि नै आफ्ना सामान सार्न सुरु गरेका हुन्। शुक्रबार बिहान पनि थापाथली क्षेत्रमा बस्ती खाली गर्ने क्रम जारी रहेको छ।

सुकुम्बासी बस्तीमा डोजर पुग्नु अघि छाती थापेर आफू अघि जाने दाबी गरेका सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका प्रधानमन्त्री शाहको यस निर्णयअघि निरिह देखिएका छन्।

सुकुम्बासी बस्ती खाली गराउने सरकारको तयारीबारे रास्वपा स्वयं अनभिज्ञ देखिएको छ। सरकारले लिएको उक्त निर्णयबारे पार्टीभित्र कुनै औपचारिक छलफल नभएको रास्वपा प्रवक्ता तथा सांसद मनिष झाले बताएका छन्। उनका अनुसार यस विषयमा सरकारकै प्रवक्ताबाट स्पष्ट जानकारी लिनुपर्ने अवस्था रहेको छ।

सरकारका निर्णयप्रति सत्तारूढ दलको पनि जवाफदेहिता रहने विषय उठेपछि उनले अनौपचारिक रूपमा केही छलफल भएको स्वीकार गरे। तर, औपचारिक निर्णय वा धारणा भने पार्टीले बनाएको छैन।

यसैबीच, सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले पनि मन्त्रिपरिषदबाट सुकुम्बासी बस्ती हटाउने कुनै औपचारिक निर्णय नभएको बताएका छन्। मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

सरकारले भने बागमती नदी किनारका अतिक्रमित घरटहरा खाली गराउन निर्देशन जारी गर्दै वैशाख १२ गते बिहानदेखि संरचना हटाउने तयारी गरेको जनाएको छ। सो क्रममा अवरोध गर्नेहरूलाई कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।

यता, रास्वपाले विगतमा सार्वजनिक गरेको घोषणापत्रमा सुकुम्बासी समस्यालाई वैज्ञानिक रूपमा समाधान गर्ने उल्लेख गरिएको थियो। वास्तविक सुकुम्बासी र नक्कली व्यक्तिहरू छुट्याएर व्यवस्थित बस्ती विकास गर्ने योजना पार्टीले अघि सारेको थियो।

तर हालको कदम उक्त प्रतिबद्धतासँग मेल नखाने भन्दै आलोचना हुन थालेको छ। सुकुम्बासी बस्तीमा अचानक डोजर चलाउने तयारीले प्रभावित समुदायमा त्रास र असन्तोष बढेको छ।

कतिपय रास्वपाकै सांसदहरूले पनि कानुनी प्रक्रिया र पूर्वघोषित नीतिअनुसार अघि बढ्नुपर्ने धारणा सार्वजनिक गर्न थालेका छन्।

यस्तै, प्रतिपक्षी दल श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङले सरकारले देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउने कार्य गरिरहेको भन्दै आपत्ति जनाएका छन्।

उनले जारी गरेको विज्ञप्तिमा यस्तो कार्य नेपालको संविधानको धारा ३७ को उपधारा (१) विपरीत भएको उल्लेख गर्दै खेद प्रकट गरेका छन्। अध्यक्ष साम्पाङले बासस्थान भत्काउने कार्य तत्काल रोक्न र प्रभावितलाई उचित क्षतिपूर्ति तथा पुनर्बासको व्यवस्था गरेर मात्रै अघि बढ्न सरकारलाई सुझाव दिएका छन्।

विज्ञप्तिमा जनताको घर भत्काउने, जबर्जस्ती बेघर बनाउने, दुर्व्यवहार गर्ने तथा सुरक्षाकर्मीमार्फत डर-त्रास सिर्जना गर्ने कार्य नेपालको संविधानको धारा १६ को उपधारा (१) विपरीत रहेको दाबी गरिएको छ। उनले यस्ता गतिविधिले सरकारको निरंकुश चरित्र उजागर गरेको र लोकतन्त्रका मूल्य-मान्यतामा आघात पुगेको बताएका छन्।

अध्यक्ष साम्पाङले दशकौँदेखि बसोबास गर्दै आएका बस्तीमा राज्यले समयमै व्यवस्थापन नगरेकाले समस्या बढेको उल्लेख गरेका छन्। त्यस्ता बस्तीहरू तत्कालीन स्थानीय निकाय र राज्य संयन्त्रको जानकारी तथा सहमतिमा नै विस्तार भएको हुन सक्ने उनको तर्क छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले घरबारविहीन बेसहारा नागरिकको संरक्षणको जिम्मा सरकारको हुने बताएका छन्। उनले एक भिडियो सेयर गर्दै सरकारलाई सुझाव दिएका छन्।

जेनजी अगुवा रक्षा बम सभापति रवीमाथि खनिएकी छिन्। उनले सामाजिक सञ्जालमा लामिछानेलाई ‘सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ ?’ भनेर प्रश्न गरेकी छिन्।

 

 फिल्म ‘मालती मंगले’ को गीत ‘झ्याम पारम’ सार्वजनिक

काठमाडौं।  लोकप्रिय गायक रामकृष्ण ढकालद्वारा निर्माण गरिएको फिल्म ‘मालती मंगले’ मा समावेश गीत ‘झ्याम पारम’ सार्वजनिक गरिएको छ।

यसअघि सार्वजनिक भएका ‘सुनैको सपनी’ र ‘ढुंगामाथि लेऊ’ बोलका गीतले दर्शकको ध्यान खिचिसकेका छन् भने नयाँ डान्सिङ नम्बरले फिल्मप्रतिको उत्साह अझ बढाएको छ।

रामकृष्ण ढकाल र मेलिना राईको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द रचना, राजनराज शिवाकोटीको संगीत तथा श्यामश्वेत रसाइलीको एरेन्जमेन्ट रहेको छ। भिडियोमा रोशन विश्वकर्माको कोरियोग्राफीले विशेष आकर्षण थपेको छ।

मुख्य कलाकार विजय बराल, वर्षा राउत र मेक्सम गौडेलसहित सविन कार्की (बिस्ट), एलिसा शर्मा र रोशित कर्माचार्यको गेस्ट अपियरन्स देख्न सकिन्छ। विशेषगरी सविन र एलिसाको नृत्यले भिडियोमा थप ऊर्जा भरेको छ।

प्रकु पाण्डेयको निर्देशनमा बनेको फिल्म ‘रानी फिल्म्स’ ब्यानरमा युनि इन्टरटेन्मेन्टसँगको सहकार्यमा निर्माण भएको हो। फिल्मको कथा निर्देशक पाण्डेयकै हो भने पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका हुन्।

फिल्ममा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलसँगै नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनील तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायत कलाकारहरूको अभिनय रहेको छ।

सागर ज्ञवाली कार्यकारी निर्माता रहेका फिल्ममा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा रहेका छन्। महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको कलर ग्रेडिङ, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक, डिकेश खड्गीको ध्वनि मिश्रण र रोमी मोजेजको सम्पादन रहेको फिल्म वैशाख २५ गते देशभर प्रदर्शनमा आउनेछ।

अमेरिकाका लागि गाँजाको पहुँच सहज बनाउने निर्णय

काठमाडौं। संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको प्रयोगमा सहज पहुँच दिने निर्णय गरेको छ। औषधिको पुनः वर्गीकरण गर्दै यसको सुरक्षा र प्रभावकारिताबारे थप अनुसन्धानलाई पनि अघि बढाइने भएको छ।

कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चले गाँजालाई मध्यमदेखि कम लत लाग्ने सम्भावना भएको औषधिको रूपमा पुनः वर्गीकृत गरिएको जानकारी दिए। उनका अनुसार यस कदमले बिरामीहरूको उपचारमा पहुँच विस्तार गर्नुका साथै चिकित्सकहरूलाई सूचित निर्णय लिन सहयोग पुग्नेछ।

अमेरिकी औषधि प्रवर्तन एजेन्सीका अनुसार यसअघि गाँजा ‘अनुसूची १’ मा राखिएको थियो, जसमा हेरोइन र मेथाम्फेटामाइनजस्ता उच्च दुरुपयोग सम्भावना भएका लागूऔषधहरू समावेश हुन्छन्। अब यसलाई पाँच तहको औषधीय वर्गीकरण प्रणालीको तेस्रो तहमा सारिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसेम्बरमा जारी गरेको कार्यकारी आदेशअनुसार चिकित्सकीय प्रयोजनका लागि गाँजाको औषधीय गुणबारे अनुसन्धान विस्तार गर्ने पहलपछि यो निर्णय गरिएको न्याय विभागले जनाएको छ।

उद्योगीलाई धरपकड गरेको भन्दै  निजी क्षेत्रको विरोध

काठमाडौं। उद्योगी व्यवसायीमाथि धरपकड भएको भन्दै निजी क्षेत्रका छाता संगठनहरूले विरोध जनाएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्।

नयाँ सरकार गठनपछि मुलुकमा स्थिरता कायम भई लगानीको वातावरण बन्ने अपेक्षा गरिएको अवस्थामा उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकका कारण निजी क्षेत्र निरुत्साहित भएको विज्ञप्तिमा उल्लेख छ।

‘अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्‍याइरहेको निजी क्षेत्र त्रसित हुने अवस्था सिर्जना हुँदा यसले अर्थतन्त्र, रोजगारी, राजस्व तथा पूर्वाधार निर्माणमा समेत गम्भीर असर पर्ने देखिन्छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।

नियामकीय निकायका प्रतिवेदनका आधारमा मात्रै उद्योगी व्यवसायीलाई पक्राउ गरिएको सन्दर्भमा आर्थिक कसुरका सम्बन्धमा पहिले सुनुवाइ गरेर मात्र दोष प्रमाणित भएपछि मात्र कारबाही गर्नुपर्ने दृष्टिकोण अपनाउन सरकारलाई आग्रह गरिएको छ।

उद्यमी व्यवसायीहरूले अनुसन्धानमा पूर्ण सहयोग गर्ने र प्रहरीले बोलाएको समयमा उपस्थित हुने जानकारी दिँदा पनि पक्राउ गरिएको घटनाले समग्र निजी क्षेत्र चिन्तित बनेको विज्ञप्तिमा उल्लेख छ।

पछिल्लो समय नीति तथा कानुन निर्माणमा निजी क्षेत्रलाई समेटिन थालेको सकारात्मक भए पनि धरपकडका घटनाले विश्वासमा कमी आएको पनि उल्लेख गरिएको छ।

तर, कसुर प्रमाणित भए दोषीलाई कारबाही गर्नुपर्नेमा निजी क्षेत्रको कुनै विमति नरहेको स्पष्ट पारिएको छ। संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार र कसुर प्रमाणित नभएसम्म निर्दोष मानिने सिद्धान्तको पालना गर्न सरकारसँग आग्रह गरिएको छ।

अन्तिम राजा ज्ञानेन्द्र शाह पुगे गणतन्त्र दिवसकै दिन पोखरा

देशको अन्तिम राजा ज्ञानेन्द्र शाह गणतन्त्र दिवसकै दिन पोखरा पुगेका छन् । परिवारसहित त्यहाँ पुगेका उनलाई स्वागत गर्दै राजतन्त्रपक्षधरहरूले ‘राजा आऊ, देश बचाऊ’को नारा लगाए ।

उनी फेरि राजा हुन खोजिरहेका छन् । तर, उनी राजा हुने व्यवस्था राजतन्त्र छैन । जनताको छोराछोरी पनि यो देशको राष्ट्रप्रमुख हुने व्यवस्था गणतन्त्र छ । ज्ञानेन्द्रलाई फेरि राजा बनाउँछु भन्ने दल राप्रपामा कचिङ्गल छ ।

अध्यक्ष राजेन्द्र लिङ्देन नै गणतन्त्रको कार्यान्वयन गर्ने गणतन्त्रवादी नेता प्रचण्डको सरकारमा जान्छन् । उनी एजेन्डा बोक्छन् राजतन्त्रको र सत्तााको लाभ लिन्छन्– गणतन्त्रको ।

पार्टी एजेन्डा र कार्यनीतिमा पटक्कै तालमेल नमिलेपछि ज्ञानेन्द्रलाई राजा ल्याउने भन्ने राजेन्द्र लिङ्देनको दल राप्रपाको गत चुनावमा कन्तविजोक भयो ।

यसपछि देशको अन्तिम राजा ज्ञानेन्द्र राजतन्त्रको पक्षमा देशको मूख्य सहरी क्षेत्रमा आफैं माहोल बनाउन लागेको कतिपयको विश्लेषण छ ।

गत वर्षको २७ माघमा पोखरादेखि नै काठमाडौं आउँदा त्रिभुवन विमानस्थल आसपास ठूलो संख्यामा समर्थकहरू भेला भएका थिए ।

निलम्बन फिर्ता गर्न राखेपलाई फिफा र एएफसीको अल्टिमेटम

काठमाडौं। फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई अखिल नेपाल फुटबल संघ (एन्फा) सम्बन्धी निर्णय फिर्ता लिन मे ४ (वैशाख २१) सम्मको समय दिएको छ।

दुवै निकायले राखेपले गत वर्ष चैत ११ गते गरेको निर्णय एन्फाको स्वायत्ततामा हस्तक्षेप हुने भन्दै उक्त निर्णय खारेज गर्न आग्रह गरेका हुन्। तहगत निर्वाचन र निर्देशनहरू पालना नगरेको भन्दै राखेपले एन्फालाई तीन महिना निलम्बन गरेको थियो, जसका कारण एन्फाको चैत १३ गते हुने भनिएको निर्वाचन स्थगित भएको थियो।

फिफा र एएफसीले तोकिएको समयभित्र निर्णय फिर्ता नभए परिस्थिति थप जटिल हुन सक्ने चेतावनी दिएका छन्। साथै, निर्णय फिर्ता भएमा सबै सरोकारवालासँग रचनात्मक संवादमार्फत समाधान खोज्न तयार रहेको पनि उनीहरूले स्पष्ट पारेका छन्।

यसअघि राखेपले एन्फालाई निर्वाचन प्रक्रिया रोक्न, विधानका केही प्रावधान संशोधन गर्न तथा जिल्ला फुटबल संघहरूलाई पनि आफ्नो विधानअनुसार निर्वाचनमार्फत साधारणसभा गर्न निर्देशन दिएको थियो।

यसैबीच, गत अप्रिल १३ मा राखेप, एन्फा, फिफा र एएफसीबीच एन्फाको वर्तमान अवस्थाबारे अनलाइन बैठक भए पनि कुनै निष्कर्ष निस्किएको थिएन।

६१ जना पक्राउ

गण्डकी । कास्की प्रहरीले सञ्चालन गरेको दोस्रो दिनको स्वीप अपरेसनमा थप ६१ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरूले लागुऔषध बिक्री तथा सेवन, मदिरा सेवन गरी समाजमा अशान्ति फैलाउने तथा गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार स्वीप अपरेसन बिहीबार राति ९ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म सञ्चालन गरिएको थियो।

यसअघि पहिलो दिनको अपरेसनमा जिल्लाका विभिन्न स्थानबाट १२२ जना पक्राउ परेका थिए।

एआई-आधारित शिक्षण प्रणाली आवश्यक: शिक्षकलाई डिजिटल दक्ष बनाउन जोड

काठमाडौं। ललितपुरस्थित एभरेस्ट इन्जिनियरिङ कलेजमा आयोजित तीनदिने ‘एआई इनाबल्ड डिजिटल पेडागोजी’ कार्यशालाका सहभागीहरूले आधुनिक डिजिटल युगअनुसार शिक्षण पद्धतिमा परिवर्तन अपरिहार्य रहेको निष्कर्ष निकालेका छन्। उनीहरूले प्रभावकारी शिक्षाका लागि शिक्षकहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र दक्षता प्रदान गर्नुपर्नेमा जोड दिएका छन्।

कार्यक्रम संयोजक तथा सहप्राचार्य राजन लामाले कार्यशालाले शिक्षण क्षेत्रमा सकारात्मक रूपान्तरण ल्याउने विश्वास व्यक्त गर्दै सिकाइलाई व्यवहारमा लागू गर्न शिक्षकहरूलाई प्रेरित गरे। कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले डिजिटल प्रविधिसँग समायोजन नगरी आधुनिक शिक्षा सम्भव नहुने उल्लेख गर्दै यस्ता कार्यक्रम संस्थागत विकासका लागि महत्वपूर्ण हुने बताए। त्यस्तै, कलेजका सीईओ अरुणकुमार भण्डारीले अन्तर्राष्ट्रिय स्तरको शिक्षातर्फ अघि बढ्न प्रविधिमैत्री शिक्षण अनिवार्य भएको धारणा राखे।

कलेज प्रशासनका अनुसार कार्यशालाको मुख्य उद्देश्य शिक्षकहरूलाई डिजिटल युगअनुसार अद्यावधिक गर्दै शिक्षण गुणस्तर सुधार गर्नु हो। भविष्यमा पनि यस्ता नवप्रवर्तनमुखी कार्यक्रम निरन्तर सञ्चालन गरिने जनाइएको छ।

वैशाख ८ देखि १० सम्म सञ्चालन भएको उक्त कार्यशालामा परम्परागत शिक्षणलाई प्रविधिमैत्री र विद्यार्थीकेन्द्रित बनाउने विषयमा प्रशिक्षण दिइएको थियो। पहिलो दिन एआई र डिजिटल पेडागोजीको आधारभूत अवधारणा तथा शिक्षणमा यसको भूमिकाबारे छलफल गरिएको थियो। दोस्रो दिन डिजिटल सामग्री निर्माण र अन्तरक्रियात्मक शिक्षण विधिमा अभ्यास गराइएको थियो भने अन्तिम दिन एआई-आधारित मूल्यांकन प्रणाली र स्मार्ट कक्षाको भविष्यबारे विस्तृत चर्चा गरिएको थियो।

कार्यशालामा सहभागी शिक्षकहरूले समूहगत अभ्यास, केस स्टडी र व्यावहारिक प्रयोगमार्फत सिकाइलाई अझ प्रभावकारी बनाएका थिए। तीन दिनसम्म बिहान ११ बजेदेखि दिउँसो २:३० बजेसम्म सञ्चालन भएको कार्यक्रम समापनका अवसरमा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

युद्धविराम तीन साता थपिएको ट्रम्पको घोषणा

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको कमजोर युद्धविरामलाई थप तीन साताका लागि विस्तार गरिएको घोषणा गरेका छन्।

आगामी आइतबार समाप्त हुन लागेको युद्धविरामको अवधि थपिएसँगै ट्रम्पले निकट भविष्यमा इजरायली र लेबनानी नेतालाई ह्वाइट हाउसमा स्वागत गर्ने इच्छा समेत व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा जारी तनावका बीच लेबनानमा शान्ति कायम राख्न युद्धविराम अवधि थपिएको बताएका हुन्।

इरानको सन्दर्भमा उनले कडा रणनीति अपनाउने संकेत गरेका छन्। इरानसँगको सम्झौताका लागि आफू कुनै दबाबमा नरहेको उल्लेख गर्दै उनले तेहरानलाई चेतावनी दिएका छन्।

‘मसँग संसारभरका लागि पर्याप्त समय छ, तर इरानसँग छैन। समयको घडी टिकटक गर्दै अघि बढिरहेको छ’, ट्रम्पले लेखेका छन्।

उनले इरानसँगको सम्झौतामा आफूले कुनै हतार नगर्ने स्पष्ट पार्दै वर्तमान परिस्थितिमा तेहरानले छिटो निर्णय लिनुपर्ने बताएका छन्।

अमेरिकी प्रशासनको यो कदमले मध्यपूर्वमा जारी द्वन्द्व कम गर्न केही आशा जगाएको भए पनि इरानसँगको बढ्दो तनावले नयाँ अनिश्चितता सिर्जना गरेको विश्लेषण गरिएको छ।

सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ

काठमाडौं । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिहान उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन्।

प्रहरीका अनुसार परिश्रमी आफैँ सुकुम्बासी नरहेको खुलेको छ। ‘हामीले नारायणलाई नियन्त्रणमा लिएका छौँ,’ एसपी भट्टराईले भने, ‘पहिला पनि उहाँको भूमिका शंकास्पद देखिएको थियो, त्यसैले यसपटक पहिले नै पक्राउ गरिएको हो।’

काठमाडौं महानगरपालिकाले यसअघि थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने प्रयास गर्दा परिश्रमीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेको आरोप छ। सो घटनामा पनि उनलाई प्रहरीले पक्राउ गरेको थियो।

बालेन सरकारसँग श्रीकृष्ण मृत्युप्रकरणमा संसदीय समिति माग गर्दै खगेन्द्र सुनारसहितका सांसदहरू धर्नामा

काठमाडौं।  अन्तरजातीय विवाह गरेका श्रीकृष्ण विकको सिन्धुलीको खुर्केटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा शंकास्पद मृत्युप्रकरणपछि सांसदहरू धर्नामा बसेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनार, रीमा विश्वकर्मा, सोही क्षेत्रका सांसद आशिष गजुरेल र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गणेश विक जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा छन् । उनीहरू अनिश्चितकालीन धर्नामा बस्ने छन् ।

उनीहरूले बालेन सरकारसँग संसदीय छानबिन समिति गठनको माग गरेका छन् । तर, प्रधानमन्त्री बालेनले कुनै चासो दिएका छैनन् । सांसद खगेन्द्र सुनारले सिन्धुलीका प्रमुम जिल्ला अधिकारी, त्यहाँका प्रहरी उपरीक्षक र खुर्कोटका प्रहरी निरीक्षकलाई निलम्बनको माग गरेका छन् ।

सुनकोशी गाउँपालिका-३ का २२ वर्षीय श्रीकृष्ण विक ६ वैशाखमा खुर्कोट प्रहरीको हिरासतमा रहेको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको थियो ।

उनले आत्महत्या गरेको प्रहरीले बताए पनि मृतककी आमा विन्दामाया विकले आफ्नो छोराको हत्या भएको बताएकी छन् । मृतकको शव बुझ्न पीडित परिवारले मानेको छैन ।

श्रीकृष्णले केही महिनाअघि खोटाङकी १८ वर्षीया निर्जला मगरसँग विवाह गरेर ललितपुरको सातदोबाटोमा बसेका थिए ।

सोधपुछका लागि सातदोबाटो प्रहरीले बोलाएको र जाँदा बालविवाह गरेको आरोपमा नियन्त्रणमा लिएर खुर्कोट पठाएको र श्रीकृष्णविरुद्ध बलात्कार मुद्दामा निर्जलाको परिवारले जाहेरी दिएका थिए ।

भनिन्छ, निर्जलाको नातामा काका पर्ने इलाका प्रहरी कार्यालयमै कार्यरत थिए । त्यसले गर्दा घटनालाई शंकास्पद मानिएको छ ।

यस्तोमा रास्वपा सांसद खगेन्द्र सुनार, रीमा विश्वकर्मालगायत चार सांसद बालेन सरकारसँग श्रीकृष्ण विकको मृत्युप्रकरणको छानबिन गर्न संसदीय समिति गठनको बाग गर्दै धर्नामा बसेका हुन् ।

नदी किनारका सुकुमबासी बस्ती हटाउने तयारी,अवस्था तनावपूर्ण (तस्वीरहरु)

काठमाडौं।  काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गराउने सरकारको तयारीसँगै ती क्षेत्रमा तनावपूर्ण अवस्था देखिएको छ। शनिबार बिहानदेखि अतिक्रमित घरटहरा भत्काउने योजना अनुसार प्रशासनले आवश्यक तयारी अघि बढाएको छ।

सरकारको निर्देशनपछि प्रहरीले बिहीबार साँझदेखि नै माइकिङ गर्दै बस्ती खाली गर्न सूचना जारी गरेको छ। सुकुमबासीलाई शुक्रबार साँझसम्म बस्ती छाड्न आग्रह गरिएको छ। शुक्रबार दिनभर पनि माइकिङ जारी रहने र शनिबार बिहानैदेखि डोजर प्रयोग गरी संरचना हटाउने तयारी रहेको छ।

बागमती नदी किनारका थापाथली, सिनामंगल, टेकु र बल्खु क्षेत्रका सुकुमबासी बस्ती यस अभियानका मुख्य लक्षित क्षेत्र हुन्।

तस्वीरहरु:

रौतहटमा लाखौँको सामानसहित एकजना पक्राउ

रौतहट। रौतहट प्रहरीले लाखौँ रुपैयाँ बराबरको भन्सार छलिको सामानसहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलीले मौलापुर नगरपालिका-३ बाट ज १ च १३४३ नम्बरको पिकअप गाडीमा अवैध रूपमा भन्सार छली गरी ल्याइएको २,९०० किलोग्राम तोरी र ३५० किलोग्राम सरसोंसहित गाडी र चालकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-७ का २५ वर्षीय पवन साह रहेका छन् । उनले भारतबाट करिब ३ लाख ९० हजार रुपैयाँ बराबरको तोरी र सरसों ल्याएका थिए भने पिकअप गाडीको मूल्य करिब २० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, प्रहरीले भारतबाट दुई वटा जर्किनमा भरी भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा १० हजार ५३० रुपैयाँ बराबरको डिजेलसहित बीआर ०५ एल ४५६० नम्बरको करिब ५० हजार रुपैयाँ मूल्य बराबरको मोटरसाइकल पनि बरामद गरेको छ ।

बरामद गरिएको अवैध सामान, सवारी साधन र चालकसहित करिब २४ लाख ५० हजार ५३० रुपैयाँ बराबरको सामग्री आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाइएको प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिएका छन् ।

 २४ घण्टामा २,६९२ चालक कारबाहीमा

काठमाडौं। गत २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक सवारी नियम उल्लंघन गरेको अभियोगमा कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा ७ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९१ जना, यान्त्रिक अवस्था ठीक नभएका ६३ सवारी साधन, ट्राफिक संकेत उल्लंघन गर्ने २२४ जना र तीव्र गतिमा सवारी चलाउने १३२ जनालाई कारबाही गरिएको हो।

यसैगरी लेन अनुशासन पालना नगर्ने २३७, सार्वजनिक सवारी साधनका ढोका बन्द नगरी सञ्चालन गर्ने ४७, निषेधित क्षेत्रमा हर्न बजाउने ७८, निर्धारित स्थानमा यात्रु चढाउने र ओराल्ने नियम उल्लंघन गर्ने ४० तथा अन्य नियम उल्लंघन गर्ने एक हजार ७८० जनालाई पनि कारबाही गरिएको छ।

अनुगमनमा कडाइ, ११ अवैध स्वास्थ्य संस्था शील

जनकपुरधाम। सर्लाही सदरमुकाम मलङ्गवामा अवैध रूपमा सञ्चालन हुँदै आएका ११ वटा स्वास्थ्य संस्था शील गरिएको छ। दर्ता नगरी सञ्चालनमा रहेको तथा मापदण्ड उल्लङ्घन गरेको पाइएपछि अनुगमन टोलीले कारबाही गरेको हो।

जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक, स्वास्थ्य कार्यालय, नगरपालिका, प्रादेशिक अस्पताल तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा ती संस्था बन्द गरिएका हुन्। सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार दर्ता नै नभएका र नियमविपरीत सञ्चालन भइरहेका स्वास्थ्य संस्थामाथि कडाइ गरिएको बताए।

अनुगमनका क्रममा सर्लाही पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर, ठाकुर सेवा उपचार, कल्याण हेल्थ केयर, सिद्धि गणपति पोलिक्लिनिक, प्रेमा हेल्थ केयर सेन्टर, अन्जली पोलिक्लिनिक, महतो क्लिनिक तथा निलम फार्मेसी, माली मेडिकल, जय माँ सुनैना हेल्थ केयर, लाइफ लाइन मेडिमेयर पोलिक्लिनिक र एउटा नामविहीन अल्ट्रासाउन्ड क्लिनिक शील गरिएको छ।

शील गरिएका संस्थामध्ये चारवटा दर्ता नै नभएको पाइएको छ भने बाँकी सातवटा संस्थाका सञ्चालक अनुगमनको जानकारी पाएपछि सम्पर्कविहीन भएका छन्। सञ्चालक अनुपस्थित रहेका तथा संस्था बन्द अवस्थामा भेटिएकामा टोलीले शील गरेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबार बिहानदेखि साँझसम्म १६ वटा स्वास्थ्य संस्थाको अनुगमन गरिएको थियो। तीमध्ये पाँचवटा दर्ता भएका संस्थालाई भने नवीकरण तथा अन्य कानुनी प्रक्रिया पूरा गर्न एक साताको समय दिइएको छ।

यसअघि २०८१ फागुन अन्तिम साता तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहको नेतृत्वमा गरिएको अनुगमनमा पनि मलङ्गवाका अधिकांश स्वास्थ्य संस्था अवैध रहेको पाइएपछि १५ वटा अस्पताल बन्द गर्न निर्देशन दिइएको थियो। तर, त्यस्ता संस्थाहरू पुनः सञ्चालनमा आएको गुनासो बढ्दै गएको छ।

अवैध रूपमा सञ्चालित क्लिनिक तथा अस्पतालले बिरामीमाथि मनपरी उपचार गर्ने, चर्को शुल्क असुल्ने तथा अदक्ष जनशक्ति प्रयोग गर्ने जस्ता गम्भीर आरोप लाग्दै आएका छन्। केही महिनाअघि लालबन्दी–१ नवलपुरमा अवैध आयुर्वेद औषधालयमा उपचारका क्रममा एक किशोरीको मृत्यु भएको घटनाले समेत चिन्ता बढाएको छ।

स्थानीय तहको नियमित अनुगमन अभावका कारण यस्ता अवैध स्वास्थ्य संस्था फस्टाउँदै गएको स्थानीयवासीको गुनासो छ। विगतमा अनुगमनका क्रममा स्वास्थ्यकर्मीसँग विवाद र हातपात भएपछि जनप्रतिनिधिहरू समेत अनुगमनमा हिचकिचाउन थालेको बताइएको छ।

लालबन्दी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुमताज मिकरानीले पटक-पटक निर्देशन दिँदा पनि अवैध अस्पतालले अटेरी गर्दै आएको स्वीकार गरेका छन्। उनले अनुगमनलाई प्रभावकारी बनाउन सबै पक्षको समन्वय आवश्यक रहेको बताए।

‘स्विप अपरेशन’ : ११३ जना पक्राउ

चितवन।  जिल्ला प्रहरी कार्यालयले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गरेर ११३ जनालाई नियन्त्रणमा लिएको छ।

बिहीबार सञ्चालन गरिएको उक्त कारबाहीमा लागुऔषध बिक्री तथा सेवन गर्ने, मादकपदार्थ सेवन गरेर हल्ला गर्ने, यात्रुहरूको इच्छाविपरीत झोला तथा सामान तानी दुःख दिने, सरकारी कार्यालयमा सेवा प्रवाहमा अवरोध गर्ने तथा सवारीसाधनको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्दै मोटरसाइकल चलाउने चालकहरूलाई नियन्त्रणमा लिइएको हो।

नीर शाहद्वारा निर्देशित ‘कमला मिस’को प्रदर्शन मिति घोषणा

काठमाडौं । नीर शाहको निर्देशनमा निर्माण भएको चलचित्र ‘कमला मिस’को प्रदर्शन मिति घोषणा गरिएको छ ।

मनोवैज्ञानिक कथावस्तुमा आधारित यस चलचित्रमा निर्देशक नीर शाहसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगरलगायत कलाकारहरूको अभिनय रहेको छ ।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन् भने लाइन प्रोड्युसर पुष्कर लामा रहेका छन् ।

चलचित्रको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका छन् ।

चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

कांग्रेस दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने गगन–विश्व मूड

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता प्रतिनिधिसभा सदस्य भीष्मराज आङ्देम्बे बन्ने निश्चितजस्तै भएको छ । उनलाई दलको नेता बनाउने सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको चाहना छ ।

आङ्देम्बे संसदीय राजनीतिका अनुभवी नेता हुन् । पार्टीका शीर्षमध्येका एक जना नेता उनी स्वच्छ छविका नेता मानिन्छन् । आङ्देम्बे दलको नेता हुन थापा–शर्माको पहिलो रोजाइमा छन् ।

पार्टीको विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधर दुवै पक्षको साझा विन्दु नै आङ्देम्बे बन्ने देखिएको छ ।

गत वर्षको १९ चैतमा प्रतिनिधिसभा बैठकमा गरेको सम्बोधनले उनको राजनीतिक छवि थप उचो भयो । दलको नेतामा सांसदहरू अर्जुननरसिंह केसी, मोहन आचार्यलगायत केही दाबेदार छन् । तर, दुवैको सम्भावना नरहेको बताइन्छ ।

‘शहिदहरुको सम्झनामा’

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए

ओठमा हाँसो,गालामा लाली तब आउँछ जगतको
देशको पीरले भेटी जब वीरले चढाउँछ रगतको

घाँटीमा फासीको माला गाँसी वीरले हाँस्ता
मातृभूमिको चरण ढोगी भाग्दछ दासता

उम्रन्न बोट कसैले बीउ छरेर नगए

हामीले खाने प्रत्येक गाँसमा रगत छ शहीदको
हामीले फेर्ने प्रत्येक सासमा रगत छ शहीदको
हाम्रो मुटुको प्रत्येक चालमा छ धडकन शहीदको
हाम्रा खुशीका प्रत्येक पलमा छ जीवन शहीदको

पाउने थिएनौं खुशी तिनले छाडेर नगए

हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्ला
धरतीले मुख लाजले छोप्ला,आकाशले धिक्कार्ला

शहीद रोलान् हामीले उन्नति गरेर नगए
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए !

थापाथली सुकुम्बासी बस्तीका घर खाली गर्न प्रहरीले गर्यो माईकिङ(भिडियो)

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासी बस्ती शनिबार हटाउन प्रहरीले माईकिङ गरेको छ । वैशाख ११ गते साँझ सात बजेसम्म घर  तथा टहरा खाली गरिसक्न भन्दै प्रहरीले आज माईकिङ गरेको हो। 

बस्ती हटाएपछि त्यहाँका सुकुम्बासीहरुलाई लजमा राखेर व्यवस्थापन गर्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले काठमाडौं महानगरलाई निर्देशन दिएका छन्।

शाहले तत्कालका लागि सुकुम्बासीहरूलाई अस्थायी रूपमा लजमा राख्ने र त्यसको सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनका अनुसार लजमा राखेपछि उनीहरूको अभिलेख संकलन र प्रमाणीकरणको काम अघि बढाइने योजना छ।

यस निर्देशन कार्यान्वयनका लागि प्रहरीले काठमाडौं महानगरसँग नगर प्रहरी, डोजर लगायतका आवश्यक स्रोतसाधन माग गरेको स्रोतले जनाएको छ। साथै, शुक्रबारदेखि नै बस्ती क्षेत्रमा माइकिङ गरेर सूचना दिन पनि आग्रह गरिएको छ।

यसैबीच, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुम्बासी बस्ती हटाउने विषय आफ्नो जानकारीमा आएको बताएकी छन्। उनले थापाथली क्षेत्रका सम्बन्धित वडाध्यक्षहरू तथा महानगर प्रहरी प्रमुख विष्णु जोशीसँग छलफल भइरहेको जानकारी दिएकी छन्।

शाहले सुकुम्बासी बस्ती हटाउन सुरक्षा निकायलाई निर्देशन दिएका थिए । बुधबार उनले नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर यस्तो निर्देशन दिएका हुन्। स्रोतका अनुसार आगामी शनिबार र आइतबारभित्र बस्ती खाली गराउन भनिएको छ।

जीवन बीमा व्यवसाय बढ्यो

काठमाडौं। चालु आर्थिक वर्ष २०८२–८३ को नौ महिनामा नयाँ जीवन बीमा व्यवसाय (प्रथम बीमा शुल्क) मा उत्साहजनक वृद्धि देखिएको छ । नेपाल बीमा प्राधिकरणबाट प्राप्त तथ्यांक अनुसार यस अवधिमा नयाँ जीवन बीमा व्यवसाय ४१.२७ प्रतिशतले बढेको छ ।

हाल नेपालमा १४ ठूला र तीन लघु जीवन बीमा कम्पनी सञ्चालनमा छन् । गत आर्थिक वर्षको सोही अवधिमा २४ अर्ब ८८ करोड ६३ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन भएको थियो भने चालु आवको नौ महिनामा यो बढेर ३५ अर्ब १५ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कुल जीवन बीमा व्यवसाय पनि १३.२० प्रतिशतले बढेको छ । गत आवको नौ महिनामा एक खर्ब २७ अर्ब तीन करोड ६९ लाख रुपैयाँ बीमा शुल्क संकलन भएकोमा चालु आवमा यो बढेर एक खर्ब ४३ अर्ब ८१ करोड एक लाख ६८ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा वैदेशिक रोजगार बीमाबाट दुई अर्ब ५० करोड ७५ लाख रुपैयाँ र नवीकरणबाट एक खर्ब आठ अर्ब ६५ करोड ३६ लाख रुपैयाँ संकलन भएको छ ।

कुन कम्पनी अगाडि?

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ३६ अर्ब ८६ करोड १९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ, जसले १७ अर्ब सात करोड ९४ लाख रुपैयाँ संकलन गरेको छ ।

तेस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) रहेको छ, जसले १५ अर्ब १७ करोड आठ लाख रुपैयाँ संकलन गरेको छ । त्यसैगरी हिमालयन लाइफले १३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले नौ अर्ब ११ करोड ८३ लाख रुपैयाँ, सूर्यज्योति लाइफले आठ अर्ब ५५ करोड १५ लाख रुपैयाँ संकलन गरेका छन् ।

एसियन लाइफले सात अर्ब २४ करोड ७० लाख, सिटिजन लाइफले छ अर्ब ६ करोड ७१ लाख, सानिमा लाइफले पाँच अर्ब ४२ करोड ४४ लाख, आईएमई लाइफले चार अर्ब ९५ करोड १३ लाख र मेट लाइफले चार अर्ब ९० करोड ५४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

त्यसैगरी रिलायबल नेपाल लाइफले चार अर्ब ४४ करोड ९० लाख, प्रभु महालक्ष्मी लाइफले चार अर्ब १९ करोड २२ लाख र सन नेपाल लाइफले तीन अर्ब १७ करोड १९ लाख रुपैयाँ संकलन गरेका छन् ।

लघु जीवन बीमा कम्पनीतर्फ क्रेष्ट माइक्रो लाइफले ३० करोड ५४ लाख, गार्डियन माइक्रो लाइफले ३० करोड ४० लाख र लिवर्टी माइक्रो लाइफले २३ करोड ६० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

यो विवरण वैदेशिक रोजगार बीमा बाहेकको बीमा शुल्क संकलनमा आधारित रहेको जनाइएको छ ।

गृहमन्त्रीमा गुरुङको पुनरागमनको सम्भावना कति?

काठमाडौं । पूर्वगृहमन्त्री सुदन गुरुङले बुधबार पदबाट राजीनामा दिए । उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजीनामा बुझाएका हुन् ।

गुरुङको राजीनामापछि उक्त रिक्त पदमा को आउँछ भन्ने विषयमा अहिले राजनीतिक वृत्तमा व्यापक चर्चा र चासो दुवै सुरु भएको छ ।

एकातिर गुरुङको पुनरागमन हुनेमा आशावादी पक्षले उनी क्लिन चिट लिएर पुनः फर्किनेमा ढुक्क रहेको दाबी गरिरहेका छन्। अर्कोतिर,  अरू नै गृहमन्त्री पदमा नियुक्त हुने तर्क पनि भइरहेको छ ।

सामाजिक सञ्जालमा विभिन्न सम्भावित नामहरूबारे अड्कलबाजी भइरहेका छन् । यद्यपि, प्रधानमन्त्री शाहले तत्काल नयाँ गृहमन्त्री नियुक्त नगर्ने तयारी रहेको स्रोतहरूको दाबी छ ।

गुरुङ निकट स्रोतहरूले भने उनी चाँडै पुनः गृह मन्त्रालयमा फर्किन सक्ने दाबी गरेका छन् । उनीहरूको भनाइअनुसार छानबिन समितिले केही दिनमै निष्कर्ष निकाल्नेछ ।

विवादित व्यवसायी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको खुलासापछि गृहमन्त्री गुरुङ दबाबमा परेका थिए । सोही पृष्ठभूमिमा उनले हिजो राजीनामा दिएका थिए ।

आरोपको छानबिन गर्न गुरुङले समिति गठनको माग गरेका थिए। तर प्रधानमन्त्री शाहले समितिभन्दा अगावै राजीनामा मागे।  समिति गठन भएर उनले सफाइ पाएको भए गृहमन्त्रीमा उनको पुनरागमन हुनसक्थ्यो । सामाजिक सञ्जालको चौतर्फी दबाब, प्रधानमन्त्री  र रास्वपा सभापति रवि लामिछानेको दबाबसँग उनको कुनै सिप चल्न सकेन ।

राजीनामा घोषणा गर्दै उनले आफूमाथि निष्पक्ष छानबिन गर्न चुनौतीसमेत दिएका छन् ।

गुरुङले प्रधानमन्त्री कार्यालयबाटै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजीनामाको घोषणा गरेका थिए । त्यसपछि उनी गृह मन्त्रालय पुगेका थिए र करिब तीन घण्टा प्रधानमन्त्रीसँग बिताएका थिए ।

मन्त्रालयमा उनलाई औपचारिक बिदाइ गरिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू पनि बिदाइका लागि मन्त्रालय पुगेका थिए । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले मायाको चिनो प्रदान गर्दै बिदाइ गर्दा गुरुङ भावुक पनि बने।

उनले हिजै सरकारी निवास छोडेर सितापाइलास्थित आफ्नो अपार्टमेन्टमा सरेको जनाइएको छ ।

४० द्वन्द्वपीडित संस्थाले गुहारे बालेन : सङ्क्रमणकालीन न्याय टुंग्याउन आग्रह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई द्वन्द्वपीडित समुदायले खुला आह्वान पत्रमार्फत सङ्क्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन माग गरेका छन् ।

द्वन्द्वपीडित समुदायकातर्फबाट ४० वटा संस्थाले पठाएको उक्त पत्रमा सङ्क्रमणकालीन न्याय प्रक्रियामा विश्वसनीयता पुनःस्थापित गरी त्यसलाई टुंगोमा पुर्‍याउन आग्रह गरिएको छ ।

पत्रमा पीडितहरूको सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित गर्दै ऐतिहासिक जिम्मेवारी गम्भीरतापूर्वक पूरा हुने अपेक्षा व्यक्त गरिएको छ । झण्डै दुई तिहाइ समर्थन प्राप्त सरकारप्रति आफूहरू आशावादी रहेको पनि उल्लेख गरिएको छ ।

खुलापत्रमा भनिएको छ, ‘संसदमा झण्डै दुई तिहाइ समर्थनसहित मुलुकको शक्तिशाली कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएकोमा द्वन्द्वपीडित समुदायकातर्फबाट हार्दिक बधाई व्यक्त गर्दछौँ । तपाईंको नेतृत्वमा रहेको सरकारले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई सही दिशामा अघि बढाउने पर्याप्त क्षमता, इच्छाशक्ति र नैतिक आधार राख्दछ भन्नेमा हाम्रो दृढ विश्वास छ ।’

यद्यपि, सरकारले अघि सारेको राष्ट्रिय प्रतिबद्धता मस्यौदा तथा १०० बुँदे शासकीय कार्यसूचीमा सङ्क्रमणकालीन न्याय प्रक्रिया समेटिएको नदेखिएको भन्दै ध्यानाकर्षण गराइएको छ ।

पत्रमा ६ बुँदे मागसमेत राखिएको छ । जसमा सङ्क्रमणकालीन न्यायलाई राष्ट्रिय प्रतिबद्धता पत्रको महत्त्वपूर्ण बुँदाका रूपमा समावेश गर्ने, वर्तमान आयोगको वैधतासम्बन्धी प्रश्न समाधान गर्न कानुन संशोधन गर्ने, आयुक्तहरूको बहिर्गमन सुनिश्चित गर्ने तथा नयाँ आयुक्त नियुक्ति प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र पीडितमैत्री बनाउने लगायतका विषय समेटिएका छन् ।

द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले दुई दशकदेखि अल्झिएको सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित गर्न ठोस पहल आवश्यक रहेको बताए । उनले सरकारलाई उक्त विषयलाई प्राथमिकतामा राख्दै विश्वसनीय कदम चाल्न आग्रह गरेका छन् ।

चर्चित कन्टेन्ट क्रिएटर निशान मैनाली परिवारमाथि मिटरब्याजीको आरोप

काठमाडौं । चर्चित कन्टेन्ट क्रिएटर निशान मैनालीको परिवारमाथि मिटरब्याजी कारोबार गरेको आरोप सार्वजनिक भएको छ। सर्लाहीको बरहथवाका भागनारायण महतो र उमादेवी महतोले ११ वर्षअघि लिएको १ लाख ५० हजार ऋणको बदलामा ६५ लाख रुपैयाँ र १० कट्टा जग्गा असुलिएको आरोप लगाएका छन्।

आरोपअनुसार, २०७४ सालतिर उमादेवीको दाइको नाममा रहेको १० कठ्ठा जग्गा पछि उनको नाममा नामसारी गरिएको थियो। उक्त जग्गा भागनारायणले लामो समयको मेहनतले किनेको र पछि परिवारभित्रै नामसारी गरिएको बताइएको छ।

पछिल्लो चरणमा ऋण लिएको भन्दै निशान मैनाली पक्षले सोही जग्गालाई ‘दृष्टिबन्धक’ राख्न दबाब दिएको आरोप छ। त्यसपछि निशानले उमादेवीलाई लिएर वडा कार्यालयमा चार किल्ला सिफारिस गराई मालपोत कार्यालयमार्फत दृष्टिबन्धकको नाममा जग्गा आफ्नो आमाको नाममा पास गराएको दाबी गरिएको छ। चार दिनमै उक्त जग्गा निशानकी आमाको नाममा लालपुर्जा बनेको आरोपसमेत छ।

निरक्षर भएकी उमादेवीले सो प्रक्रिया बुझ्न नसकेको बताइएको छ। त्यसपछि पनि निशान परिवारले जग्गा दृष्टिबन्धक मात्र भएको भन्दै थप रकम माग गरिरहेको आरोप छ।

आरोप अनुसार, महतो परिवार मिटरब्याजको चक्रमा फसेको र तमसुकमा राखिएको १० लाख ऋण तिर्न नसक्ने अवस्थामा पुगेको थियो। विदेश (बहराइन) बाट भागनारायणले पठाएको रकम समेत निशानकै घरमा बुझाउनुपर्ने अवस्था सिर्जना भएको र नपुगेपछि गाउँलेसँग समेत ऋण लिएर तिर्न बाध्य भएको उमादेवीले बताएकी छन्।

तत्कालिन ओली सरकारको निर्णय बालेन सरकारले उल्ट्यायो

काठमाडौं। २०७५ साल भदौमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णय वर्तमान सरकारले उल्ट्याएको छ ।

तत्कालीन सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपतिको कार्यालयलाई उपलब्ध गराउने निर्णय गरेको थियो । साथै, प्रतिष्ठानलाई काभ्रेपलाञ्चोकको पनौतीमा सार्ने योजना अघि बढाइएको थियो ।

तर वर्तमान मन्त्रिपरिषद्ले उक्त निर्णय खारेज गर्दै सो जग्गा पुनः राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकै प्रयोगमा रहने निर्णय गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद्को २०७५ भदौ २१ को निर्णयबमोजिम महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूरै जग्गा (११४–३–०–०) राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णयको सट्टा उक्त जग्गा पूर्ववत् रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले नै प्रयोग गर्नेछ ।’

‘लाइफ ड्यामेज’ जेठ १ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं। ‘फेन्टासी कमेडी ड्रामा’ विधामा निर्माण भएको फिल्म ‘लाइफ ड्यामेज’ मा समावेश गीत ‘ब्युटिफुलम’ सार्वजनिक गरिएको छ ।

जेठ १ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको उक्त गीत राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा रिलिज गरिएको हो ।

सार्वजनिक डान्सिङ नम्बरमा एसडी योगीको संगीत, आदर्श सुशीलको शब्द तथा एसडी योगी र रेश्मा पुनको स्वर रहेको छ । गीतको भिडियोको कोरियोग्राफी किरण थापाले गरेका हुन् ।

भिडियोमा फिल्मका मुख्य कलाकारहरू प्रस्तुत छन् । केही वर्षयता कन्टेन्ट क्रियटरका रूपमा परिचित निमेष श्रेष्ठले यस फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका छन् । उनले अभिनेत्री सुरक्षा पन्तसँग स्क्रिन सेयर पनि गरेका छन् ।

फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा सुरक्षा पन्त र निमेष श्रेष्ठसँगै ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनिश जंग थापा, अजय पन्त, सविन बाँस्तोला, निर्मला खड्कालगायत कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मको कथा निमेष श्रेष्ठ, ईशा थापा र अभिषेक खरेलले संयुक्त रूपमा लेखेका हुन् । पहिलोपटक निर्देशनमा हात हालेका श्रेष्ठले ‘लाइफ ड्यामेज’ दर्शकका लागि मनोरञ्जनात्मक र फरक स्वादको ‘फेन्टासी कमेडी ड्रामा’ हुने बताएका छन् ।

कार्यक्रममा बोल्दै उनले फिल्म अन्त्यसम्म रमाइलो बनेको र दर्शकको मन जित्नेमा आफू विश्वस्त रहेको बताए ।

अभिनेत्री सुरक्षा पन्तले चलचित्रको अवधारणा मन परेकाले आफूले काम गरेको बताइन् ।

फिल्ममा प्रवीण खड्काको छायांकन र बिकेन कार्कीको सम्पादन रहेको छ ।

नेप्सेमा गयो पहिरो

काठमाडौं। बिहीबार सेयर बजारमा गिरावटको क्रम जारी रहँदा नेप्से परिसूचक १७.०१ अंकले घटेको छ ।

अघिल्लो दिन २८०४ अंकमा रहेको बजार आज २७८७ अंकमा झरेको हो । पछिल्ला चार कारोबार दिनदेखि बजार लगातार ओरालो लागिरहेको छ ।

यस दिन कारोबार रकम पनि उल्लेख्य रूपमा घटेको छ । अघिल्लो दिन ७ अर्ब ८१ करोडको कारोबार भएकोमा आज जम्मा ५ अर्ब ९ करोडको कारोबार भएको छ ।

बजारमा ४६ कम्पनीको मूल्य बढ्दा २१६ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

उत्पादन तथा प्रशोधन समूह ०.६० प्रतिशत र व्यापार समूह ०.४३ प्रतिशतले बढेका छन् । तर अन्य अधिकांश समूह भने घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.४२ प्रतिशतले घटेको छ ।

बैंकिङ ०.७७, विकास बैंक ०.०८, फाइनान्स १.०६, हाइड्रोपावर १.०५, लगानी ०.५३, जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.५३, निर्जीवन बीमा १.१९ तथा अन्य समूह ०.८५ प्रतिशतले घटेका छन् ।

यस दिन पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावरको मूल्य १५ प्रतिशतले बढेको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक ९.२४ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंक ५ प्रतिशतले बढेका छन् ।

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको मूल्य सबैभन्दा धेरै ११.७९ प्रतिशतले घटेको छ । सुपर खुदी हाइड्रोपावर ७.१७ प्रतिशत, गणपति लघुवित्त ६.३८ प्रतिशत र रिजलाइन इनर्जी ५.३३ प्रतिशतले घटेका छन् ।

आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी, होटल फरेस्ट इन र नेसनल हाइड्रोपावर रहेका छन् ।

एन्फा विवाद : फिफा र एएफसीको चासो, निलम्बन फिर्ता लिन आग्रह

काठमाडौं। विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई गरिएको निलम्बन मे ४ अर्थात् वैशाख २१ भित्र फिर्ता लिन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् ।

फिफा र एएफसीले संयुक्त रूपमा पत्राचार गर्दै उक्त आग्रह गरेका हुन् ।

सरकारी कार्यालयमा विद्युतीय हाजिरी अनिवार्य गर्न निर्देशन

काठमाडौं । सरकारले देशभरका सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय तथा स्थानीय तहलाई पत्राचार गर्दै विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्न भनेको हो ।

मन्त्रालयले कर्मचारीको उपस्थितिको अभिलेखिकरण व्यवस्थित बनाउन विद्युतीय हाजिरी अनिवार्य गर्न निर्देशन दिएको छ । हालसम्म उक्त प्रणाली लागू नभएका कार्यालयमा कर्मचारीको दैनिक उपस्थित र प्रस्थान विवरण अनिवार्य रूपमा विद्युतीय हाजिरीमार्फत नै अभिलेख गर्नुपर्ने व्यवस्था मिलाउन पनि भनिएको छ ।

साथै, प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित गरेर कार्यालयमा सुरक्षित रूपमा राख्न समेत मन्त्रालयले परिपत्र गरेको छ ।

सामाजिक सञ्जाल दर्ता नहुँदा सरकारलाई पर्यो गारो, गाली नगर्न अनुरोध

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सामाजिक सञ्जाल प्लेटफर्महरू दर्ता नभएकै कारण अनुसन्धान प्रक्रियामा ढिलाइ हुने गरेको बताएका छन्। 

बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले अधिकांश लोकप्रिय सामाजिक सञ्जाल विदेशी कम्पनीद्वारा विदेशबाट सञ्चालन हुने भएकाले आवश्यक विवरण प्राप्त गर्न कठिनाइ हुने उल्लेख गरे। उनका अनुसार हराएको बालबालिका वा आत्महत्यासम्बन्धी संवेदनशील घटनामा २४ घण्टाभित्र सूचना उपलब्ध हुने भए पनि अन्य केसमा एक हप्तासम्म कुर्नुपर्ने अवस्था छ, जसले अनुसन्धानलाई प्रभावित बनाएको छ। 

उनले इन्टरनेट र मोबाइल प्रयोगको विस्तारसँगै साइबर अपराध तीव्र रूपमा बढ्दै गएको जानकारी पनि दिए। तथ्यांकअनुसार ४ हजारभन्दा बढी फेक एकाउन्टमार्फत घृणा फैलाउने उजुरी, ३ हजारभन्दा बढी बुलिङ तथा ह्यारेसमेन्टका घटना र १० हजारभन्दा बढी वित्तीय अपराधसम्बन्धी उजुरी प्रहरीमा दर्ता भएका छन्। 

एकाउन्ट ह्याकिङ, अनलाइन ठगी, धम्की र यौनजन्य दुरुपयोगका घटना पनि बढ्दै गएको उनले बताए। हाल नेपालमा टिकटक, भाइबर, निम्बज, वीटक र कपोकोलाइभ मात्र दर्ता रहेका छन् भने फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सञ्चालन गर्ने मेटा कम्पनी दर्ता छैन। साथै, ह्वाट्सएप, डिस्कर्ड, एक्स, स्न्यापच्याट, इमो, वीच्याट, रेडिट, युट्युब र जिमेलजस्ता प्लेटफर्मबाट प्रयोगकर्ता विवरण वा टेकडाउन सम्बन्धी प्रतिक्रिया नआउने समस्या रहेको उनले बताए। 

यसैबीच, सञ्चार मन्त्रालयअन्तर्गत सूचना तथा प्रसारण विभागले बुधबार यसै बारे प्रेस विज्ञप्ती जारी गर्दै कडा कारबाहीको चेतावनी दिएको छ। 

विभागले जारी गरेको विज्ञप्तीमा भनिएको छ- ‘विगत केही समयदेखि विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालहरूमा आधारहीन, मिथ्या र भ्रामक सूचना सामग्रीहरू प्रकाशन तथा प्रसारण भइरहेको सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’ यस्तो सामग्रीले सर्वसाधारणलाई भ्रममा पार्ने, मानवीय क्षति निम्त्याउने र सामाजिक सद्भावमा असर गर्ने जोखिम रहेको उल्लेख गर्दै विभागले जिम्मेवार सूचना प्रसार गर्न आग्रह गरेको छ। 

साथै, कानुनविपरीत सामग्री उत्पादन, गोपनीयता उल्लंघन तथा अफवाह फैलाउने कार्यमा संलग्नलाई कडा कारबाही गरिने चेतावनी पनि दिएको छ।

‘यदि आधारहीन, मिथ्या र भ्रामक समाचारहरू प्रकाशन तथा प्रसारण गरिएको पाइएमा त्यस्ता समाचार वा सूचना प्रकाशन गर्ने व्यक्ति वा संस्थाहरूलाई पहिचान गरी प्रचलित कानुन (विद्युतीय कारोबार ऐन तथा अन्य सम्बद्ध कानुन) बमोजिम कडा कारबाही गरिने व्यहोरा समेत अवगत गराइन्छ’, विज्ञप्तीमा उल्लेख गरिएको छ।

रास्वपाबाट सांसद बन्न नपाएका सपुतको पुन: राजनीतिमा फर्किने संकेत

काठमाडौं। गायक तथा अभिनेता प्रकाश सपुतले समय आएपछि र पार्टीले जिम्मेवारी दिएमा आफू फेरि पनि राजनीतिमा फर्कन सक्ने बताएका छन् ।

उनी गत फागुनमा करिब डेढ महिना आफ्ना चलचित्र र गीत-संगीतका सम्पूर्ण काम सकेर राजनीतिमा उत्रिएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सूचीमा परे पनि उनी सांसद बन्ने अवसर भने पाएनन् ।

त्यसपछि सक्रिय राजनीति छाडेर उनी आफ्नो पुरानै काममा फर्किएका थिए ।

प्रकाशमा राजनीतिक रुचि भने अझै कायम रहेको देखिन्छ । उनी हाल आफ्नो पछिल्लो चलचित्र ‘परालको आगो’ मा व्यस्त छन् । गुरुप्रसाद मैनालीको कथामा आधारित यो चलचित्र शुक्रबारदेखि नेपालसहित विभिन्न देशमा प्रदर्शन हुँदैछ ।

चलचित्रबारे काठमाडौँमा आयोजित पत्रकार भेटघाटमा उनले आफूले पूर्ण रूपमा राजनीति नछाडेको बताएका छन् ।

यद्यपि, समानुपातिक सूचीबाट सांसद बनेको भए पनि आफूले चलचित्र ‘परालको आगो’ को काम सक्न र रिलिजका लागि समय दिन कठिन हुने उनले उल्लेख गरे । सांसद नबनेकोमा उनलाई पछुतो नभएको र आफू दर्शकको सेवक भएकाले अहिले चलचित्र र गीत–संगीतमार्फत सेवा गरिरहेको पनि उनले बताए ।

उनी अहिले चलचित्रसँगै नयाँ गीत-संगीतको सिर्जनामा पनि सक्रिय छन् । चलचित्र रिलिजपछि आफ्नो स्वरमा नयाँ गीत ल्याउने योजना पनि रहेको उनले जानकारी दिए ।

नेपाली विषयमा अध्ययन गरेका प्रकाशले गुरुप्रसाद मैनालीको कथामा आधारित ‘परालको आगो’ मा मुख्य भूमिका निर्वाह गर्न पाउँदा खुसी लागेको बताए । चलचित्रमा उनले सौगात मल्ल र सुहाना थापासँग सहकार्य गरेका छन् ।

निर्देशक लक्ष्मण सुनारका अनुसार फिल्मले मैनालीको कथालाई न्याय गर्ने प्रयास गरेको छ ।

एआईमा चीनको फड्को : अमेरिका त्रसित

एजेन्सी। चीनले आफ्नो आन्तरिक कृत्रिम बुद्धिमत्ता (एआई) कम्प्युटिङ क्षमतामा ठूलो फड्को मारेको दाबी गरेको छ। यससँगै विश्व प्राविधिक क्षेत्रमा तरंग उत्पन्न भएको छ भने अमेरिका सशंकित बनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

आधिकारिक तथ्यांकअनुसार देशको कुल कम्प्युटिङ क्षमता १८८२ एक्साफ्लप्स पुगेको बताइएको छ, जसले प्रति सेकेन्ड १८८२ क्विन्टिलियन गणना गर्न सक्ने क्षमता जनाउँछ। साउथ चाइना मर्निङ पोस्टका अनुसार यो संख्या सुपरकम्प्युटरहरूको विश्वव्यापी र्‍याङ्किङ टप ५०० सूचीमा देखाइएको चीनको कम्प्युटिङ क्षमताभन्दा करिब ६ हजार गुणा बढी हो।

तर विज्ञहरूले यी दुई मापदण्ड प्रत्यक्ष रूपमा तुलना गर्न नमिल्ने बताएका छन्। टप ५०० सूचीले सामान्य प्रयोजनका सुपरकम्प्युटिङ प्रणालीलाई कडा मापदण्डमा मूल्यांकन गर्छ भने चीनको तथ्यांक एआई-केन्द्रित गणनामा आधारित भएकाले सरल अपरेसनहरू पनि समेटिन्छन्, जसले कुल संख्या बढी देखाउन सक्छ।

मापदण्ड मिलाएर हेर्दा चीनको वास्तविक क्षमता करिब १२० देखि २३० एक्साफ्लप्स हुन सक्ने अनुमान गरिएको छ, जुन पनि विश्वकै उच्च स्तरमध्ये पर्छ।

विज्ञहरूका अनुसार भूराजनीतिक तनाव र अमेरिकी निर्यात नियन्त्रणका कारण चीनले आफ्ना सबैभन्दा शक्तिशाली प्रणालीहरूको विस्तृत विवरण विश्वव्यापी र्‍याङ्किङमा कम मात्र पठाउन थालेको छ। यसले वास्तविक क्षमता अझै ठूलो हुन सक्ने आशंका बढाएको छ।

चीनले हाल राष्ट्रव्यापी एआई कम्प्युटिङ ग्रिड विकास गरिरहेको छ, जसअन्तर्गत राष्ट्रिय र स्थानीय डेटा सेन्टरहरूलाई जोडेर कम्प्युटिङ क्षमता वितरण गरिनेछ। यसले साना व्यवसाय र अनुसन्धान संस्थाहरूलाई पनि एआई पहुँच सहज बनाउने लक्ष्य राखिएको छ।

यसबीच, अमेरिकाले एआई कम्प्युटिङ क्षमताको एकीकृत तथ्यांक सार्वजनिक नगर्ने भए पनि स्ट्यानफोर्ड इन्स्टिच्युट फर ह्युमन–सेन्टर्ड एआईका अनुसार अमेरिका अझै पनि विश्व एआई क्षमताको ५०–७५ प्रतिशत हिस्सा ओगट्छ र डेटा सेन्टर संरचनामा अग्रस्थानमा छ।

यद्यपि पछिल्ला वर्षहरूमा चीन र अमेरिकाबीचको प्रविधि दूरी तीव्र रूपमा घट्दै गएको विश्लेषण गरिएको छ। विज्ञहरूको अनुमानमा चीनको एआई कम्प्युटिङ क्षमता सन् २०२३ देखि २०२८ बीच वार्षिक करिब ४६ प्रतिशत दरले वृद्धि हुने अपेक्षा गरिएको छ, जुन सामान्य कम्प्युटिङ विस्तारभन्दा धेरै तीव्र हो।

‘भूत बंगला’ को बक्स अफिस कमाइ ७५ करोड नाघ्यो

काठमाडौं।  बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘भूत बंगला’ ले भारतीय बक्स अफिसमा ७५ करोड रुपैयाँभन्दा बढीको कमाइ गरेको छ।

प्रियदर्शन निर्देशित यो हरर कमेडी फिल्मले प्रदर्शनको छैटौँ दिनसम्म राम्रो प्रदर्शन गर्दै स्थिर व्यापार कायम राखेको बताइएको छ।

ट्रेड वेबसाइट स्याक्निल्कका अनुसार बुधबार फिल्मले भारतमा ६.१५ करोड रुपैयाँ नेट कमाइ गरेको छ। यससँगै फिल्मको घरेलु कुल कमाइ करिब ७८.९० करोड रुपैयाँ पुगेको छ। सोमबार यसले ६.७५ करोड र मंगलबार ८ करोड रुपैयाँ कमाएको थियो।

फिल्मले प्रिमियर शोबाट ३.७५ करोड रुपैयाँ र पहिलो दिन १२.२५ करोड रुपैयाँ कमाएको थियो। त्यस्तै, शनिबार १९ करोड र आइतबार २३ करोड रुपैयाँको बलियो कमाइ गरेको थियो।

‘भूत बंगला’ अक्षय कुमार, एकता कपूर र शोभा कपूरको बालाजी मोशन पिक्चर्स तथा केप अफ गुड फिल्म्सको संयुक्त निर्माण हो। फिल्ममा अक्षय कुमारसँगै तब्बु, परेश रावल, जिशु सेनगुप्ता, राजपाल यादव, मिथिला पालकर र वामिका गब्बीको अभिनय रहेको छ।

सन् २००७ को हिट फिल्म ‘भूल भुलैया’ पछि प्रियदर्शन र अक्षय कुमारको यो दोस्रो हरर कमेडी सहकार्य हो।

फिल्म अप्रिल १७ मा रिलिज भएको हो र नेपालमा पनि प्रदर्शन भइरहेको छ।

चुरोट किन्न नपाउने कानून पारित

एजेन्सी। बेलायतले भावी पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै दीर्घकालीन प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक पारित गरेको छ।  जसलाई स्वास्थ्य क्षेत्रमा ठूलो मोडका रूपमा हेरिएको छ ।

संसदबाट पारित यस कानूनले अबको पुस्तालाई चुरोटको पहुँचबाट क्रमशः टाढा लैजाने स्पष्ट सङ्केत दिएको छ । धूम्रपान नियन्त्रणका लागि दशकौँदेखि चलिरहेको अभियानपछि यो सफलता हासिल भएको भन्दै धूम्रपानविरुद्ध काम गर्ने संस्था ‘एक्सन अन स्मोकिङ एन्ड हेल्थ’ का प्रमुख कार्यकारी हेजल चिजम्यानले ‘धूम्रपानको अन्त्य अब टाढाको लक्ष्य नभइ, अपरिहार्य प्रक्रिया बनिसकेको’ प्रतिक्रिया दिए । उनले यस कदमलाई सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि निर्णायक उपलब्धि ठानेका छन् ।

सुर्तीजन्य पदार्थ र भेपसम्बन्धी विधेयकअनुसार डिसेम्बर ३१, २००८ पछि जन्मिएका व्यक्तिहरूलाई जीवनभर चुरोट किन्न नपाउने व्यवस्था गरिनेछ ।

यसले हालको उमेर,आधारित सीमा हटाएर हरेक वर्ष न्यूनतम उमेर बढाउँदै लैजाने प्रणाली लागू गर्नेछ, जसका कारण अहिलेका किशोर-किशोरीहरू भविष्यमा पनि चुरोट खरिद गर्नबाट वञ्चित रहनेछन् ।

कानून प्रभावकारी हुनुअघि बेलायती राजा चार्ल्स तृतीयको औपचारिक स्वीकृति आवश्यक रहनेछ, जुन सामान्यतया औपचारिक प्रक्रिया मात्र मानिन्छ । त्यसपछि सरकारले सुर्तीजन्य पदार्थ, भेपिङ उपकरण र निकोटिनजन्य उत्पादनहरूको स्वाद, प्याकेजिङ र वितरणमा कडा नियमन लागू गर्न सक्नेछ ।

हाल बेलायतमा १८ वर्षभन्दा कम उमेरकालाई चुरोट, सुर्तीजन्य वस्तु वा भेप बेच्न प्रतिबन्ध छ । तर नयाँ कानूनले यस व्यवस्थालाई अझ कठोर बनाउँदै दीर्घकालीन रूपमा धूम्रपानको अन्त्यतर्फ उन्मुख गरेको छ । यही कारणले बेलायत अब विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक बनेको छ ।

यसअघि सन् २०२२ मा न्युजिल्यान्डले पनि यस्तै प्रकृतिको कानून ल्याएको थियो, तर पछिल्लो सरकारले त्यसलाई खारेज गरेको थियो ।

बेलायतको कदम भने दीर्घकालीन नीतिगत प्रतिबद्धताको रूपमा प्रस्तुत गरिएको छ । आँकडाअनुसार सन् १९७० को दशकयता बेलायतमा धूम्रपान गर्नेहरूको सङ्ख्या करिब दुई तिहाइले घटिसकेको छ । तर अझै करिब ६४ लाख मानिस, अर्थात् कुल जनसङ्ख्याको झन्डै १३ प्रतिशतले धूम्रपान गरिरहेका छन् ।

सरकारी तथ्याङ्कले हरेक वर्ष करिब ८० हजार जनाको मृत्यु धूम्रपानका कारण हुने देखाएको छ, जसले यसलाई मृत्यु, अशक्तता र खराब स्वास्थ्यको सबैभन्दा ठूलो रोकथामयोग्य कारण बनाएको छ ।

स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले नयाँ कानूनले बेलायतका बालबालिकालाई ‘पहिलो धूम्रपान-मुक्त पुस्ता’ बनाउने विश्वास व्यक्त गरे । उनका अनुसार यसले भावी पुस्तालाई जीवनभरको लत र त्यसबाट हुने गम्भीर स्वास्थ्य जोखिमबाट जोगाउनेछ ।

अन्तत: प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क

काठमाडौं। श्रम संस्कृति पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समावेशी राज्य प्रणालीको व्यवस्था गर्नुपर्ने पक्षमा आफ्नो अडान सार्वजनिक गरेको छ ।

पार्टी अध्यक्ष हर्क साम्पाङले संविधान संशोधनका लागि गठन गरिएको बहसपत्र तयारी कार्यदललाई लिखित सुझाव दिँदै यी विषयहरू संविधानमै समेटिनुपर्ने माग गरेका हुन् ।

पार्टीले आफ्नो सुझावमा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ । साथै, कार्यकारी राष्ट्रपतिले आफूले उपयुक्त ठानेका व्यक्तिहरू समावेश गरेर मन्त्रिपरिषद् गठन गर्न पाउने व्यवस्था हुनुपर्ने पनि प्रस्ताव गरिएको छ ।

त्यस्तै, मन्त्रिपरिषद् गठन गर्दा समावेशी सिद्धान्तलाई अनिवार्य रूपमा लागू गर्नुपर्ने व्यवस्था गर्नुपर्ने धारणा पार्टीले राखेको छ ।

अध्यक्ष साम्पाङले सार्वजनिक गरेको पत्रमा कार्यकारी प्रमुखका अधिकार र सीमाहरू स्पष्ट रूपमा निर्धारण गर्नुपर्ने, निरंकुशताको परिभाषा प्रस्ट हुनुपर्ने र यदि कार्यकारी प्रमुख निरंकुश बनेमा महाभियोगको प्रक्रिया लागू गर्नुपर्ने उल्लेख छ ।

त्यसैगरी, संसदमा महाभियोग पारित भए कार्यकारी प्रमुख पदमुक्त हुने व्यवस्था गर्नुपर्ने सुझाव पनि दिइएको छ ।