`

संसदमा बालेन [तस्वीरहरू]

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आइतबार बस्ने प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका छन् ।

सरकारका गतिविधि, समसामयिक राजनीतिक विषय तथा संसदमा उठेका प्रश्नबारे धारणा राख्न प्रधानमन्त्री शाहले संसदलाई सम्बोधन गरेका हुन्।

यसअघि प्रमुख विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भई सरकारको धारणा स्पष्ट पार्नुपर्ने माग गर्दै निरन्तर आवाज उठाउँदै आएका थिए।

विपक्षी सांसदहरूले विभिन्न राष्ट्रिय मुद्दामा प्रधानमन्त्रीको जवाफदेहिता आवश्यक रहेको भन्दै संसदभित्र र बाहिर दबाब सिर्जना गर्दै आएका थिए।

तस्वीरहरू:

जीबी राईबारे प्रधानमन्त्री बालेन मौन

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सहकारी पीडितलाई प्रत्यक्ष रूपमा राज्यकोष प्रयोग गरेर नभई दोषीहरूबाट रकम असुल गरी पीडितलाई वितरण गर्ने नीति अघि बढाइने बताएका छन्।

प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले उनलाई जीबी राई कहिले पक्राउ पर्छन् भन्दै प्रश्न गरेका थिए। तर, उनले विषयान्तर गर्दै अर्कै कुरा बताए। 

उनका अनुसार सहकारी क्षेत्रमा भएको ठगीको जिम्मेवारी सम्बन्धित व्यक्ति तथा समूहले लिनुपर्ने भएकाले उनीहरूबाट असुल उपर गरेरै पीडितलाई न्याय दिलाइने योजना रहेको छ।

बालेनले यस्तो कदमलाई न्यायिक र जिम्मेवार समाधानका रूपमा अघि सारिएको बताएका छन्।

सरकारले सहकारी ठगीका घटनामा संलग्नहरूमाथि कानुनी कारबाही सँगै रकम फिर्ता गराउने प्रक्रिया कडा बनाउने तयारीसमेत गरेको जनाएको छ।

खोला किनारका जोखिमपूर्ण सुकुमवासी व्यवस्थापन गर्न डोजर चलाइयो : प्रधानमन्त्री 

काठमाडौं।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले खोला किनारमा जोखिमपूर्ण अवस्थामा बसोबास गर्दै आएका सुकुमवासीलाई व्यवस्थापन गरिएको बताएका छन्।

उनका अनुसार एक आना पनि जग्गा नभएका परिवारलाई उपयुक्त विकल्पमार्फत जग्गा उपलब्ध गराइने योजना रहेको छ। साथै डुबानमा पर्ने, स्वास्थ्य जोखिममा रहेका तथा ज्यान जोखिममा परेका बस्तीहरूलाई प्राथमिकताका आधारमा स्थानान्तरण गरिएको उनले स्पष्ट पारे।

मेयर शाहले जोखिमपूर्ण बस्तीहरूमा डोजर प्रयोग गरी खाली गराउनुको उद्देश्य मानवीय सुरक्षा र दीर्घकालीन व्यवस्थापन रहेको दाबी गरे। उनका अनुसार नदी किनारका असुरक्षित संरचनाका कारण बाढी, डुबान र स्वास्थ्य समस्या बढ्दै गएको थियो।

बालेनले यस्तो व्यवस्थापनलाई ‘विकास र सुरक्षा केन्द्रित कदम’का रूपमा व्याख्या गरेका छन्।

बालेनको दाबी: ‘नेपालले पनि भारतको जमिन मिचेको रहेछ’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले भारतसँगको सीमा विवादबारे नयाँ दाबी गर्दै नेपालले पनि भारततर्फको जमिन मिचेको  बताएका छन् ।

आइतवार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने, ‘तपाईंहरूलाई सुन्दा अचम्म लाग्ला, मैले पनि भर्खरै थाहा पाएँ । भारतले मात्र नभएर नेपालले पनि भारतको जग्गा मिचेको रहेछ । हामी टेबल टकमा बसेर एकअर्काको जमिन मिचिएको विषयमा छलफल गर्नेछौं’

प्रधानमन्त्रीको यो भनाइपछि सीमा विवाद समाधानका लागि दुवै देशबीच संवाद र टेबल टकमार्फत समाधान खोज्ने संकेत गरेको देखिन्छ ।

लिपुलेक, कालापानी र लिम्पियाधुरा विवाद टेबलटकबाट समाधान गर्ने : प्रधानमन्त्री

काठमाडौं।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल–भारतबीच लामो समयदेखि विवादित लिपुलेक, कालापानी र लिम्पियाधुराको सीमा समस्या कूटनीतिक संवाद (टेबल टक) मार्फत समाधान गरिने बताएका छन्।

प्रधानमन्त्री शाहले सीमा विवादलाई तनावको विषय होइन, संवाद र कूटनीतिक पहलबाट समाधान गर्नुपर्ने उल्लेख गर्दै सम्बन्धित पक्षसँग उच्चस्तरीय वार्ता अघि बढाइने संकेत दिएका छन्।

नेपालले उक्त क्षेत्रलाई आफ्नो संवैधानिक नक्साअनुसार नेपाली भूभाग दाबी गर्दै आएको छ भने भारतले भने आफ्नो प्रशासनिक नियन्त्रण रहेको बताउँदै आएको छ। सोही विषयमा दुई देशबीच लामो समयदेखि कूटनीतिक तानातान रहँदै आएको छ।

हालै भारतले धार्मिक यात्राका लागि उक्त मार्ग प्रयोग गर्ने निर्णयपछि नेपालले आपत्ति जनाएपछि विषय पुनः चर्चामा आएको छ। यसबीच प्रधानमन्त्री शाहले समस्या समाधानका लागि प्रत्यक्ष संवादलाई प्राथमिकता दिने बताएका हुन्।

बालेन आए हर्क आएनन्

काठमाडौं। प्रधानमन्त्री बालेन शाह संसद बैठकमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ अनुपस्थित रहेका छन् ।

साम्पाङ लामो समयदेखि प्रधानमन्त्री संसदमा आएर जवाफ दिनुपर्ने माग राख्दै संसदभित्र आन्दोलन तथा बहिष्कार गर्दै आएका थिए ।

आज उनी अनुपस्थित हुनु संयोग मात्र भएको अनुमान गरिएको छ । सोही पार्टीका अन्य सांसदहरू पनि बैठकमा उपस्थित नभएको जनाइएको छ ।

तर श्रम संस्कृति पार्टीका सांसद आरेन राईले भने प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए ।

लिपुलेकबारे बालेन : ‘इंग्ल्यान्डसँग पनि छलफल भइरहेको छ’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले लिपुलेक सीमा विवादबारे विभिन्न देशहरूसँग कूटनीतिक संवाद भइरहेको बताएका छन् ।

सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेन शाहले भारत र चीनसँगै इंग्ल्यान्डसँग पनि छलफल भइरहेको जानकारी दिएका हुन् ।

उनले भने, ‘ब्रिटिसकालमा सीमा के कस्तो थियो भनेर इंग्ल्यान्डसँग पनि कुरा गरिएको छ’

उनका अनुसार लिपुलेकबारे सरकारले भारतसँग स्पष्ट अडान राखिसकेको छ र भारतबाट पनि जवाफ आएको छ ।

प्रधानमन्त्रीले थपे, ‘अब इतिहासविद्हरूसमेतलाई राखेर टेबलटक गर्ने कुरा छ । इंग्ल्यान्डसँग पनि हामीले कुरा गरेका छौँ’

सरकारले सीमा विवादलाई कूटनीतिक र ऐतिहासिक प्रमाणका आधारमा समाधान गर्ने तयारी गरिरहेको पनि उनले संकेत गरेका छन् ।

कांग्रेसले भन्यो – ‘प्रधानमन्त्री नाटकीय ढंगमा उपस्थित हुनुभयो’

काठमाडौं। प्रधानमन्त्री बालेन शाहलाई संसदमा प्रश्न सोध्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तयार भएको छ ।

पार्टीका तर्फबाट नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्रीलाई प्रश्न सोधेका हुन्।

उनले भने, ‘विकसित देशहरुमा पनि यस्तो अभ्यास छ, म उहाँ संसदमा उपस्थित भएर प्रश्नको सामना गर्न तयार भएकोमा म स्वागत नै गर्छु।’

केसीले प्रधानमन्त्रीको संसद उपस्थितिलाई सकारात्मक रूपमा लिँदै नाटकीय ढंगमा भए पनि सहभागिता स्वागतयोग्य रहेको बताए ।

तर उनले संसदीय नियमावलीअनुसार प्रश्नोत्तर कार्यक्रम बेग्लै ढंगले हुनुपर्ने माग पनि राखे । उनले भने, ‘तर, संसदीय नियमावलीमा उल्लेख भएअनुसार प्रश्नोत्तर कार्यक्रम बेग्लै हुनुपर्ने मेरो माग हो ।’

यस विषयमा अन्य सांसदहरूले पनि संसदीय प्रक्रिया र नियमअनुसार काम हुनुपर्ने धारणा राखेका छन् ।

विपक्षीलाई बालेनको जवाफ : कार्की आयोगसहित सबै आयोगका प्रतिवेदन सार्वजनिक गरिने(भिडियाे)

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कार्की आयोग, राष्ट्रिय मानव अधिकार आयोग लगायत विभिन्न आयोगका प्रतिवेदन एकैसाथ सार्वजनिक गर्ने घोषणा गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकारले कुनै पनि प्रतिवेदन लुकाउने वा दबाउने नीति नलिएको स्पष्ट पारे। उनले सत्यतथ्य जनतासामु ल्याउन तथा पारदर्शिता कायम गर्न सबै आयोगका प्रतिवेदन सार्वजनिक गरिने बताए।

प्रधानमन्त्री शाहको यो अभिव्यक्ति विपक्षी दलहरूले विभिन्न आयोगका प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग उठाइरहेका बेला आएको हो। विशेषगरी कार्की आयोग र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदनलाई लिएर संसदमा बहस भइरहेको छ।

प्रधानमन्त्रीले सरकार तथ्य र प्रमाणका आधारमा अघि बढ्ने उल्लेख गर्दै कुनै पनि प्रतिवेदनलाई राजनीतिक पूर्वाग्रहका आधारमा हेर्न नहुने धारणा राखे। उनले सम्बन्धित निकायका प्रतिवेदन सार्वजनिक भएपछि त्यसमा उल्लेख भएका विषयमा आवश्यक प्रक्रिया र कानुनी कदम अघि बढाइने समेत बताए।

प्रधानमन्त्री बालेन बोल्ने, प्रश्न सोध्ने समय सीमित भएपछि प्रतिपक्षीको आपत्ति

काठमाडौं। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) उपस्थित भएपछि सांसदहरूलाई प्रश्न सोध्ने अवसर दिइएको छ।

बैठकमा प्रधानमन्त्रीले रोष्ट्रमबाट सांसदहरूलाई आफूलाई प्रश्न सोध्न आग्रह गरेका हुन्।

त्यसपछि सभामुखले प्रत्येक संसदीय दललाई प्रश्न राख्न दुई मिनेटको समय दिएका थिए। तर, यो समय व्यवस्थापनप्रति प्रतिपक्षी सांसदहरूले आपत्ति जनाएका छन्।

नेकपाका सांसद युवराज दुलालले प्रतिनिधिसभा नियमावली २०७९ को दफा ५६ (१) उल्लंघन भएको भन्दै आपत्ति जनाएका छन्। उनका अनुसार प्रधानमन्त्रीलाई लिखित रूपमा प्रश्न सोध्ने परम्परा र प्रक्रिया रहँदै आएको छ।

त्यस्तै, एमालेका सचेतक ऐन महरले पनि समय निर्धारणप्रति नियमापत्ति जनाउँदै आपत्ति जनाएका छन्।

बैठकमा प्रक्रिया अनुसार नभएको भन्दै असन्तुष्टि देखिएको छ।

बालेन बोल्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आइतबार बस्ने प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।

सरकारका गतिविधि, समसामयिक राजनीतिक विषय तथा संसदमा उठेका प्रश्नबारे धारणा राख्न प्रधानमन्त्री शाहले संसदलाई सम्बोधन गर्न लागेका हुन्।

यसअघि प्रमुख विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भई सरकारको धारणा स्पष्ट पार्नुपर्ने माग गर्दै निरन्तर आवाज उठाउँदै आएका थिए। विपक्षी सांसदहरूले विभिन्न राष्ट्रिय मुद्दामा प्रधानमन्त्रीको जवाफदेहिता आवश्यक रहेको भन्दै संसदभित्र र बाहिर दबाब सिर्जना गर्दै आएका थिए।

सोही पृष्ठभूमिमा प्रधानमन्त्री शाहको सम्बोधनलाई राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ। सम्बोधनका क्रममा उनले सरकारका प्राथमिकता, आगामी कार्यक्रम तथा समसामयिक विषयमा आफ्नो धारणा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता

डडेलधुरा । डडेलधुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरी बलका एक जवानसहित दुई जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी)मा कार्यरत जवान ओमप्रकाश पुनमगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापामगर रहेका जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार दुवै जना शुक्रबार (जेठ १५) देखि सम्पर्कविहीन भएका हुन् । उनीहरू नातामा मामाभान्जा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहले बताए ।

प्रहरीका अनुसार उनीहरू अन्तिम पटक महाकाली नदी आसपासको क्षेत्रमा देखिएको अनुमान गरिएको छ । घटनास्थल नजिकै उनीहरूले प्रयोग गरेको ट्युब फेला परेपछि नदीमा बगेर बेपत्ता भएको हुन सक्ने आशंकासहित खोजी कार्य तीव्र पारिएको छ ।

स्थानीयवासी, सुरक्षाकर्मी र उद्धार टोलीको सहयोगमा नदी किनार र आसपासका क्षेत्रमा निरन्तर खोजी भइरहेको प्रहरीले जनाएको छ । यद्यपि अहिलेसम्म उनीहरूको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त भएको छैन ।

महाकाली नदीको बहाव र भौगोलिक अवस्थाका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको सुरक्षा निकायले जनाएको छ ।

थप विवरण संकलन भइरहेको र खोजी कार्य जारी रहने प्रहरीको भनाइ छ ।

उपत्यकामा आतंक मच्चाउने ‘मोस्ट वान्टेड’ ‘गणेश कार्की’ को हुन् ?

काठमाडौं। काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा श्रृङ्खलाबद्ध डाँका चोरी, लुटपाट र आपराधिक गतिविधि सञ्चालन गर्दै आएका कुख्यात अभियुक्त गणेश कार्की अन्ततः प्रहरीको फन्दामा परेका छन्।

लामो समयदेखि ‘मोस्ट वान्टेड’ सूचीमा रहेका कार्कीलाई शनिबार राति जडिबुटी क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शनिबार बेलुका करिब साढे ९ बजे विशेष सूचनाको आधारमा कार्कीको खोजी गर्दै पुगेको प्रहरी टोलीले उनलाई जडिबुटी क्षेत्रमा फेला पारेको थियो।

पक्राउ गर्ने क्रममा उनले प्रहरीमाथि नै आक्रमणको प्रयास गरेपछि आत्मरक्षाका लागि प्रहरीले उनको बायाँ खुट्टामा गोली प्रहार गरेको जनाएको छ। हाल उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

कार्की पक्राउ पर्नुअघि शनिबार दिउँसो मात्रै सुकेधारा क्षेत्रमा भएको लुटपाट घटनामा संलग्न थिए। प्रहरीका अनुसार उनले इलाम घर भएका आफ्ना सहयोगी विष्णु खत्रीसँग मिलेर एक महिलाको अनुहारमा खुर्सानीको धुलो छर्किएर सुनको सिक्री र मोबाइल फोन लुटेका थिए। घटनापछि फरार भएका दुवैको खोजी सुरु गरिएको थियो।

सोही क्रममा खत्रीलाई दिउँसै पक्राउ गरिएको थियो भने मुख्य योजनाकार कार्की गएराति पक्राउ परेका हुन्।

प्रहरी अनुसन्धानले कार्कीको आपराधिक इतिहास निकै लामो रहेको देखाएको छ। उनीविरुद्ध दुई दशकअघिदेखि नै विभिन्न प्रकृतिका आपराधिक मुद्दा दर्ता भएका थिए। वि.सं. २०६४ सालमा प्रहरी वृत्त बौद्धमा अभद्र व्यवहार तथा बालाजु क्षेत्रमा हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता भएको अभिलेख छ।

सोही अवधिमा बौद्ध क्षेत्रमा भएको उमेश सिंह हत्याकाण्डमा दोषी ठहर भएपछि उनले कर्तव्य ज्यान मुद्दामा १० वर्ष जेल सजाय भुक्तान गरेका थिए।

जेल सजाय पूरा गरेपछि पनि उनी आपराधिक गतिविधिबाट टाढा रहेनन्। वि.सं. २०७८ सालमा चोरी तथा डाँका चोरीका घटनामा पुनः पक्राउ परेका कार्कीलाई अदालतले ६ वर्ष कैद सजाय सुनाएको थियो। तर केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेकै बेला भएको आन्दोलन र कारागारभित्रको अव्यवस्थाको मौका छोपेर उनी फरार भएका थिए।

कारागारबाट फरार भएपछि प्रहरीले उनलाई उच्च प्राथमिकताका साथ खोजी गरिरहेको थियो।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार करिब तीन महिनाअघि कपन क्षेत्रमा समेत उनलाई पक्राउ गर्ने प्रयास भएको थियो। तर त्यसबेला उनले प्रहरीको आँखामा खुर्सानीको धुलो छर्केर भाग्न सफल भएका थिए।

फरार रहँदै गर्दा कार्कीले काठमाडौंका विभिन्न क्षेत्रमा लुटपाट र चोरीका घटना निरन्तर सञ्चालन गरेको प्रहरीको दाबी छ। उनले गौशालास्थित एक बिजुली पसलमा चोरी गरेको, वैदेशिक रोजगारीका लागि हिँडेका व्यक्तिहरूलाई बाटोमै रोकेर नगद तथा मोबाइल लुटेको तथा विभिन्न स्थानमा आतंक फैलाएको अनुसन्धानबाट खुलेको छ।

यसबाहेक उनले पशुपति क्षेत्रमा आफूलाई सादा पोसाकको प्रहरी भएको भन्दै सर्वसाधारणलाई धम्क्याउने र रकम असुल्ने गरेको पनि अनुसन्धानमा देखिएको छ। विशेषगरी कमजोर अवस्था भएका व्यक्तिहरू, लागुऔषध दुर्व्यसनी तथा एक्लै हिँड्ने मानिसलाई निशाना बनाएर लुटपाट गर्ने उनको शैली रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार खुर्सानीको धुलो उनको प्रमुख हतियार बनेको थियो। लुटपाटका अधिकांश घटनामा उनले पीडितको आँखामा खुर्सानीको धुलो छर्केर प्रतिरोध गर्ने क्षमता कमजोर बनाउने र त्यसपछि नगद, मोबाइल तथा गरगहना लुटेर फरार हुने गरेका थिए।

लामो समयदेखि उपत्यकामा त्रासको पर्याय बनेका कार्की पक्राउ परेसँगै पछिल्ला महिनाहरूमा भएका विभिन्न चोरी, लुटपाट र डाँका सम्बन्धी घटनाको थप अनुसन्धान तीव्र बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीले उनका अन्य सम्भावित सहयोगी, आपराधिक सञ्जाल र फरार अवधिमा संलग्न घटनाहरूको समेत विस्तृत अनुसन्धान अघि बढाएको छ।

कैदीलाई भगाउन आह्वान गर्ने खत्री खतरामा, अनुसन्धान हुने भएपछि भने : ‘मान्दिन’ [भिडियो]

काठमाडौं। भदौ २३ र २४ गतेका घटनाबारे अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले नाम सिफारिस गरेपछि रास्वपा सांसद तथा पूर्व पत्रकार राजीव खत्री रिसले चुरचुर बनेका छन्।

सामाजिक सञ्जालमार्फत कारागारमा रहेका कैदीलाई भगाउन आह्वान गर्ने खत्रीले आफूलाई सुनपानीले चोख्याउनु पर्ने भन्ने जस्ता अभिव्यक्ति दिइरहेका हुन्।

उनले आयोगको प्रतिवेदन कांग्रेस वा एमालेको कार्यालयमा बसेर तयार गरिएको हो कि भन्ने प्रश्न उठाउँदै उक्त प्रतिवेदन मान्नुपर्ने कुनै बाध्यता नरहेको जिकिर गरे।

एक सार्वजनिक कार्यक्रममा उनले प्रश्न गरेका छन्, ‘आयोगले कांग्रेस वा एमालेको कार्यालयमा बसेर त्यो प्रतिवेदन तयार गरेको हो ?’

तर, यिनै खत्री यसअघि गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक हुँदा भने निकै उत्साहित देखिएका थिए।

त्यसबेला उक्त प्रतिवेदनले उनीसहित रास्वपाका कुनै पनि नेतालाई अनुसन्धानका लागि सिफारिस गरेको थिएन। तर एमाले अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक जेल परेपछि भने उनी खुसीले मैमत्त देखिन्थे।

सामाजिक सञ्जालमार्फत अराजकता मच्चाउने खत्री अहिले मानव अधिकार आयोगको प्रतिवेदनमा अनुसन्धानका लागि सिफारिस भएपछि आक्रोशित देखिएका छन्। उनको आक्रोश प्रतिवेदन आफूले अपेक्षा गरेअनुसार नआएकै कारण व्यक्त भएको देखिन्छ।

उता, राष्ट्रिय मानव अधिकार आयोगले नेकपा एमालेका अध्यक्ष ओली, तत्कालीन गृहमन्त्री लेखक तथा तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समेत कारबाहीका लागि सिफारिस गरेको छ।

आखिर किन पक्राउ परिन् टिकटकर तुलसी अधिकारी ?

काठमाडौं। थाइल्याण्डबाट पक्राउ परेर नेपाल ल्याइएकी चर्चित टिकटकर तुलसी अधिकारीलाई सोमबार जिल्ला अदालत ललितपुरमा उपस्थित गराइँदैछ।

उनीविरुद्ध दर्ता भएका ठगी, आपराधिक लाभ (एक्सटर्सन) तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अब कानुनी प्रक्रिया अगाडि बढ्ने भएको छ।

ललितपुर प्रहरीले दिएको जानकारीअनुसार सातदोबाटोस्थित एक अटोमोबाइल व्यवसायीले दिएको जाहेरीका आधारमा अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ बराबरको ठगी मुद्दा दर्ता गरिएको थियो। जाहेरी दर्ता भएपछि उनी नेपालबाट फरार भएकी थिइन्।

प्रहरी अनुसन्धानका क्रममा उनी सुरुमा चीनमा रहेको सूचना प्राप्त भएपछि अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिएको थियो। त्यसपछि चीनबाट थाइल्याण्ड पुगेकी अधिकारीलाई अन्तर्राष्ट्रिय समन्वयमा पक्राउ गरी नेपाल ल्याइएको हो।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार अधिकारी र जाहेरीकर्ता व्यवसायीबीच लामो समयदेखि व्यक्तिगत निकटता रहेको देखिएको छ। सम्बन्ध बिग्रिएपछि विभिन्न किसिमका दबाब र धम्कीमार्फत रकम तथा गरगहना लिएको आरोप अनुसन्धानको केन्द्रमा रहेको छ। यही आधारमा ठगी र आपराधिक लाभसम्बन्धी मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा अधिकारीको बैंकिङ कारोबार असामान्य रूपमा ठूलो देखिएको बताइएको छ। प्रहरी स्रोतका अनुसार उनको नाममा २० करोड रुपैयाँभन्दा बढीको वित्तीय कारोबार फेला परेको छ। भने फरार अवस्थामा समेत विभिन्न बैंक खातामा ठूलो रकम मौज्दात रहेको भेटिएको थियो।

प्रारम्भिक अनुसन्धानले उनको कुल सम्पत्तिको आकार १६ देखि १७ करोड रुपैयाँको हाराहारीमा रहेको संकेत गरेको छ।

प्रहरीले सम्पत्ति आर्जनको स्रोत, बैंकिङ कारोबार, सम्पत्ति खरिद प्रक्रिया तथा आर्थिक गतिविधिबारे विस्तृत अनुसन्धान गरिरहेको छ। यही कारण उनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि दर्ता गरिएको हो।

यस प्रकरणमा अधिकारीले फरार रहेकै समयमा सामाजिक सञ्जालमार्फत विभिन्न अभिव्यक्ति दिँदै प्रहरी अधिकारीमाथि समेत आरोप लगाएकी थिइन्। तर अनुसन्धानका क्रममा ती आरोप पुष्टि हुन नसकेको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार सम्बन्धित प्रहरी अधिकारीले विगतमा गरगहना खरिद गर्दा भुक्तानी गरेको विवरणसमेत अनुसन्धानबाट देखिएको छ।

तुलसी अधिकारी सामाजिक सञ्जालमा सक्रिय टिकटकरका रूपमा परिचित छिन्। वैवाहिक सम्बन्धमा समस्या आएपछि उनी व्यवसायमा संलग्न भएकी थिइन्।

त्यसक्रममा उनी विभिन्न व्यवसायिक तथा व्यक्तिगत सम्बन्धका कारण चर्चामा आएकी थिइन्।

के हुन्छ कानुनी उपचार  ?

अधिकारीविरुद्ध दर्ता भएका तीनमध्ये सबैभन्दा गम्भीर मुद्दा सम्पत्ति शुद्धीकरणको मानिन्छ। सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार यस्तो मुद्दामा लामो अवधिसम्म अनुसन्धान गर्न सकिने व्यवस्था छ।

यदि अवैध रूपमा आर्जन गरिएको सम्पत्ति प्रमाणित भएमा बिगोको दोब्बरसम्म जरिवाना तथा कसुरको गम्भीरताअनुसार २ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुन सक्छ। मुद्दाको प्रकृति र अदालतमा प्रस्तुत हुने प्रमाणका आधारमा सजाय निर्धारण हुने कानुनी व्यवस्था छ।

यस्तै ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा पनि कैद र जरिवानाको व्यवस्था रहेको छ। कसुरको प्रकृति, रकमको परिमाण र पीडितको क्षतिको आधारमा सजायको दायरा बढ्न सक्ने कानुनी प्रावधान छ।

सोमबार अदालतमा पेश गरिएपछि अधिकारीलाई थुनामा राखेर अनुसन्धान गर्ने वा धरौटीमा रिहा गर्ने भन्ने विषयमा अदालतबाट प्रारम्भिक आदेश जारी हुने अपेक्षा गरिएको छ। यस प्रकरणलाई पछिल्लो समय सामाजिक सञ्जाल, आर्थिक कारोबार र आपराधिक अनुसन्धानसँग जोडिएको चर्चित मुद्दाका रूपमा हेरिएको छ।

खुर्सानीको धुलो छर्केर लुटपाट गर्ने पक्राउ

काठमाडौं। काठमाडौँको सुकेधारामा एक व्यक्तिको आँखामा खुर्सानीको धुलो छर्केर सुनको सिक्री र मोबाइल लुटपाट गरी फरार रहेका एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ४० वर्षीय गणेश कार्की रहेका छन्। उनलाई प्रहरीले काठमाडौँको मनोहरा करिडोर क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार कार्की सुकेधारामा लुटपाटको घटना गरिसकेपछि फरार रहेका थिए। विशेष सूचनाका आधारमा खोजी अभियान चलाएको प्रहरीले उनलाई मनोहरा करिडोरबाट पक्राउ गर्न सफल भएको जनाएको छ।

पक्राउ गर्ने क्रममा कार्कीले प्रहरीमाथि समेत प्रतिरोध गरेको बताइएको छ। प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीको आँखामा खुर्सानीको धुलो छर्केर खुकुरी प्रहार गर्न खोजेका थिए।

स्थिति नियन्त्रणबाहिर जान सक्ने अवस्था देखिएपछि प्रहरीले गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको जनाएको छ। गोली लागेपछि कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप विवरण संकलन भइरहेको छ भने लुटपाट तथा प्रहरीमाथि आक्रमण प्रयाससम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेको छ।

भारतमा नेपाली समुदायसँग अन्तरक्रिया गर्दै रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा त्यहाँ रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्ने भएका छन्। नेपाली सम्पर्क मञ्च भारतको आयोजनामा हुने उक्त कार्यक्रम जेठ २१ गते नयाँ दिल्लीको लाजपत क्षेत्रमा दिउँसो ३ बजे सुरु हुने जनाइएको छ।

रास्वपाले सभापति लामिछानेको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध, नेपाली समुदायसँगको संवाद तथा राजनीतिक भेटघाटका दृष्टिले महत्वपूर्ण मानेको छ। लामिछाने जेठ १८ गते भारत प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।

भ्रमणका क्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकरलगायत उच्चस्तरीय राजनीतिक नेतृत्वसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। भेटघाटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार, लगानी तथा दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यस भ्रमणलाई रास्वपाले आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा समेत लिएको जनाएको छ।

 

विश्व सुर्तीजन्य पदार्थरहित दिवस : बालबालिका र युवापुस्ता जोखिममा

काठमाडौं। आज विश्व सुर्तीजन्य पदार्थरहित दिवस विभिन्न देशमा चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। 

हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको मुख्य उद्देश्य सुर्तीजन्य पदार्थको सेवनबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका रणनीति, नियन्त्रणका प्रयास तथा भावी पुस्ताको संरक्षणबारे जनचेतना अभिवृद्धि गर्नु हो।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का सदस्य राष्ट्रहरूले सन् १९८७ मा विश्वव्यापी रूपमा बढ्दो सुर्तीजन्य पदार्थको प्रयोग र त्यसबाट हुने रोक्न सकिने मृत्यु तथा रोगप्रति ध्यानाकर्षण गराउने उद्देश्यले यो दिवसको सुरुआत गरेका थिए।

प्रारम्भमा ‘विश्व धूमपानरहित दिवस’का रूपमा मनाइएको यो अभियान सन् १९८८ देखि हरेक वर्ष मे ३१ मा ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’का रूपमा मनाउन थालिएको हो।

डब्लुएचओका अनुसार हाल विश्वभर करिब १ अर्ब ३० करोड मानिसले कुनै न कुनै प्रकारको सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन्। तीमध्ये अधिकांश निम्न तथा मध्यम आय भएका देशका नागरिक रहेका छन्। पछिल्ला वर्षहरूमा सुर्तीजन्य पदार्थको प्रयोग दर केही घटे पनि अझै विश्वका प्रत्येक पाँच वयस्कमध्ये एक जना कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको सेवनमा संलग्न छन्।

सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष विश्वभर ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। त्यसमध्ये करिब १२ लाख मानिसको मृत्यु आफैं धूमपान नगरे पनि निष्क्रिय धूमपानको असरका कारण हुने गरेको डब्लुएचओले जनाएको छ।

यस वर्षको दिवसमा डब्लुएचओले विशेष रूपमा नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विश्वभरका सरकारलाई आग्रह गरेको छ। सङ्गठनका अनुसार १३ देखि १५ वर्ष उमेर समूहका करिब ८ करोड ८४ लाख बालबालिका र किशोरकिशोरीले सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन्। साथै ई–सिगरेट, भेप तथा निकोटिन पाउचको प्रयोग युवा पुस्तामाझ तीव्र रूपमा बढिरहेको छ।

डब्लुएचओका अनुसार सुर्ती तथा निकोटिन उत्पादन गर्ने कम्पनीहरूले आफ्ना उत्पादनलाई अझ आकर्षक, स्वादयुक्त र प्रयोग गर्न सजिलो बनाउँदै युवापुस्तालाई लक्षित गरिरहेका छन्। विशेषगरी विभिन्न स्वादमा उपलब्ध ई-सिगरेट, भेप तथा निकोटिन पाउचमार्फत किशोर तथा युवालाई निकोटिनको लतमा फसाउने प्रयास भइरहेको छ।

डब्लुएचओको स्वास्थ्य निर्धारक, प्रवर्द्धन तथा रोकथाम विभागका निर्देशक डा. एटिएन क्रुगले लाखौं मानिसको मृत्यु भइरहे पनि सुर्ती उद्योगले आफ्नो व्यापारिक रणनीति परिवर्तन गर्दै नयाँ पुस्तालाई लक्षित गरिरहेको बताएका छन्।

उनले भने, ‘स्वादयुक्त ई–सिगरेट, निकोटिन पाउच र अन्य निकोटिनजन्य उत्पादनको आक्रामक बजार विस्तारले युवापुस्तालाई लक्षित गरिरहेको छ।’

डब्लुएचओले निकोटिन अत्यन्त लत लाग्ने र स्वास्थ्यका लागि हानिकारक पदार्थ भएकाले विशेषगरी मस्तिष्क विकासको चरणमा रहेका बालबालिका, किशोर र युवाहरूका लागि यसको असर अझ गम्भीर हुन सक्ने चेतावनी दिएको छ। हाल विश्वभर १० करोडभन्दा बढी मानिसले ई–सिगरेट प्रयोग गरिरहेको अनुमान गरिएको छ भने किशोर उमेर समूहमा यसको लोकप्रियता तीव्र गतिमा बढिरहेको छ।

हालै सार्वजनिक गरिएको निकोटिन पाउचसम्बन्धी प्रतिवेदनमा सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिमार्फत यस्ता उत्पादनको व्यापक प्रचार भइरहेको उल्लेख गरिएको छ। आकर्षक प्याकेजिङ, मिठाईजस्ता स्वाद र आधुनिक जीवनशैलीसँग जोडिएका विज्ञापनमार्फत युवालाई लक्षित गरिएको प्रतिवेदनमा जनाइएको छ।

डब्लुएचओका अनुसार विश्वका करिब १६० देशमा निकोटिन पाउचसम्बन्धी स्पष्ट कानुनी तथा नियामकीय व्यवस्था छैन। पर्याप्त नियमनको अभावमा यसको बिक्री तीव्र रूपमा बढिरहेको र लाखौं मानिस स्वास्थ्य जोखिममा पर्ने सम्भावना रहेको चेतावनी दिइएको छ।

डब्लुएचओले सरकारहरूलाई स्वादयुक्त निकोटिनजन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन, विज्ञापन तथा प्रायोजन रोक्न, सार्वजनिक स्थानलाई पूर्ण रूपमा धूमपान तथा भेप–मुक्त क्षेत्र घोषणा गर्न र कानुनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ।

सुर्ती तथा निकोटिनजन्य पदार्थको बढ्दो प्रयोग नियन्त्रण गर्न नसके भावी पुस्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने चेतावनी दिँदै डब्लुएचओले स्वस्थ, सुरक्षित र सुर्तीमुक्त समाज निर्माणका लागि सरकार, समुदाय, अभिभावक र सरोकारवाला सबै पक्षको संयुक्त प्रयास आवश्यक रहेको जनाएको छ।

चीनसँग पराजित भयो नेपाल

काठमाडौं । नेपाली महिला क्रिकेट टोली एसियन गेम्स छनोट प्रतियोगितामा चीनसँग पराजित हुँदै आगामी एसियन गेम्समा स्थान बनाउन असफल भएको छ।

वर्षाका कारण खेल ७ ओभरमा सीमित गरिएको थियो। पहिले ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाएर ५० रन बनाएको थियो। त्यसपछि डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअनुसार चीनले ४३ रनको लक्ष्य पाएको थियो।

रोमाञ्चक बनेको खेलमा चीनले अन्तिम ओभरको अन्तिम बलमा चौका प्रहार गर्दै लक्ष्य पूरा गर्‍यो र जित आफ्नो पक्षमा पार्‍यो।

कमजोर प्रतिद्वन्द्वी मानिएको चीनविरुद्ध नेपाली ब्याटरहरूले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्। नेपालले २६ रनको स्कोरमै पाँच महत्वपूर्ण विकेट गुमाएको थियो।

सम्झना खड्काले ५ रन, पूजा महतोले १ रन, सोनी पाख्रिनले ५ रन, रुबी पोद्दारले खाता खोल्न नसक्दा कप्तान इन्दु बर्माले ११ रनको योगदान दिएकी थिइन्।

माथिल्लो क्रमका ब्याटरहरू असफल भइरहेका बेला छैटौं नम्बरमा क्रिजमा आएकी कविता कुँवरले आक्रामक ब्याटिङ गर्दै १० बलमा २२ रन बनाइन्। उनको इनिङ्सले नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्‍याउन मद्दत गरेको थियो। तर त्यो प्रयास टोलीलाई जित दिलाउन पर्याप्त भएन।

२२१ रनले जित्यो नेपाल

काठमाडौं । एसियन गेम्स क्रिकेट क्वालिफायर्समा नेपालले शानदार सुरुआत गरेको छ। आफ्नो पहिलो खेलमै नेपालले चीनलाई २२१ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको हो।

टस जितेर चीनले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो। त्यसको भरपुर फाइदा उठाउँदै नेपालले कुशल भुर्तेलको विस्फोटक शतकको मद्दतमा निर्धारित ओभरमा दुई विकेट मात्र गुमाएर ३१३ रनको विशाल योगफल तयार गर्‍यो।

३१४ रनको लक्ष्य पछ्याएको चीन नेपाली बलरहरू सामु टिक्न सकेन। चीनको पूरा टोली ९२ रनमै समेटिएपछि नेपालले २२१ रनको एकतर्फी जित हासिल गर्‍यो।

ब्याटिङ र बलिङ दुवै विभागमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले प्रतियोगितामा बलियो सुरुआत गरेको छ।

२० हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शनिबार प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ३ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५ हजार ३४५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा अधिकारी

काठमाडौं । टिकटकर तुलसा अधिकारी (तुलसी अधिकारी)लाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरेर नेपाल ल्याएको छ ।

इन्टरपोलको सहयोगमा पक्राउ परेकी अधिकारीलाई शनिबार राति काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अधिकारीलाई थुनछेक प्रयोजनका लागि ललितपुर जिल्ला अदालतमा उपस्थित गराइने तयारी गरिएको छ ।

उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दा यसअघि नै अदालतमा दायर भइसकेको छ ।

प्रहरीका अनुसार अधिकारी लामो समयदेखि फरार रहेकाले उनको खोजीका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड नोटिस जारी गरिएको थियो । सोही नोटिसका आधारमा थाइल्यान्डमा पक्राउ परेकी उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नेपाल ल्याइएको हो ।

सरकारी वकिल कार्यालयले २०८२ चैतमा अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी रहेका छन् ।

प्रकरणको सुरुवात ललितपुरका एक व्यवसायीले दिएको जाहेरीबाट भएको थियो । जाहेरीमा अधिकारीले आफूलाई विभिन्न आरोपमा फसाइदिने धम्की दिँदै लामो समयसम्म आर्थिक लाभ लिएको उल्लेख गरिएको छ ।

व्यवसायीले दिएको उजुरीअनुसार अधिकारीले बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर निरन्तर ‘ब्ल्याकमेलिङ’ गर्दै रकम असुलेको आरोप छ । उजुरीकर्ताको दाबीअनुसार अधिकारीले नगद तथा जिन्सी गरी करिब ४ करोड ५० लाख रुपैयाँ बराबरको सम्पत्ति लिएकी थिइन् ।

अनुसन्धानका क्रममा प्राप्त विवरणका आधारमा प्रहरी र सरकारी वकिल कार्यालयले ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा अघि बढाएका हुन् ।

अधिकारीलाई नेपाल ल्याइएसँगै अब अदालतले उनको थुनछेकबारे निर्णय गर्नेछ । अदालतको आदेशअनुसार उनी पुर्पक्षका लागि थुनामा जाने वा धरौटी तथा तारेखमा छुट्ने भन्ने टुंगो लाग्नेछ ।

जहाजमै अचेत श्यामहरिको मृत्यु

काठमाडौं । अमेरिकाबाट टर्किस एयरलाइन्सको जहाजमार्फत् काठमाडौं आउँदै गर्दा अचेत भेटिएका वृद्धको मृत्यु भएको छ । मृतक ७३ वर्षीय श्यामहरि मरहठ्ठा हुन् ।

उनी गोरखाको बारपाक २ घर भई काठमाडौंको सामाखुसी बस्दै आएका थिए । उनी श्रीमतीसहित केही समयअघि अमेरिका गएका थिए । तर, आइतबार बिहान ६ : ३५ बजे टिके ७२६ फ्लाइटमा सवार उनी जहाजभित्र अचेत भेटिएका थिए ।

काठमाडौंको गौशाला प्रहरीले दिएको जानकारी अनुसार उनको मृत्यु भइसकेको छ ।

उनी पत्नी कालिकासहित अमेरिकाबाट काठमाडौं आएका हुन् । उनको मृत्युको कारण के हो ? प्रहरीले अनुसन्धान थालेको छ ।

राप्रपामा पूर्वअध्यक्षहरूलाई लेटरहेड पाउनै ५ घण्टा !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन पूर्वअध्यक्षहरुले शनिबार संयुक्त वक्तव्य प्रकाशित गर्दै पार्टी छाड्ने वा पलायन हुनेबारे नसोच्न आह्वान गरे पनि एक रोचक तथ्य बाहिर आएको छ ।

आफूहरु ‘अधिकार सम्पन्न’ रहेको भावमा पूर्वअध्यक्षहरु पशुपतिशम्सेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले महाधिवेशनको मिति तय गर्ने सम्मका निश्चिन्तताको सन्देश वक्तव्यमार्फत दिए ।

तर यसमा रोचक कुरा के छ भने, संयुक्त वक्तव्य प्रकाशित गर्ने क्रममा पूर्वअध्यक्षहरुलाई पार्टीको लेटरहेट प्राप्त गर्न नै करिव पाँच घण्टा समय लागेको थियो ।

एक पूर्वअध्यक्षनिकट स्रोतका अनुसार वक्तव्यको मस्यौदा शनिबार मध्याह्न करिव १२ बजेतिरै तयार भइसकेको थियो ।

वक्तव्यको मस्यौदा लेख्ने एक पूर्वअध्यक्षले अन्य दुई पूर्वअध्यक्षहरुलाई विद्युतीय माध्यमबाट मस्यौदा सोही समयमा शेयर पनि गरे । तर, पार्टी मुख्यालयबाट लेटरहेड लिएर वक्तव्य सार्वजनिक गर्दा साँझको ५ बजिसकेको थियो ।

यसबाटै पूर्वअध्यक्षहरुको संयुक्त वक्तव्यको प्रभाव, दवाब र राप्रपाभित्रको शक्ति सन्तुलन बुझ्न सकिन्छ ।

लेटरहेड हात पार्नै पाँच घण्टा लागेपछि सार्वजनिक आह्वानमा उल्लेख विषयहरु के कति कार्यान्वयन हुन सक्लान् भन्ने मापन गर्न सकिन्छ ।

राप्रपाको विधानमा पूर्वअध्यक्षहरु केन्द्रीय कार्यसमितिमा पदेन सदस्य छन् । कार्यकारी जिम्मेवारी नभए पनि नैतिक रुपमा पूर्वअध्यक्षहरुको राप्रपामा गरिमा रहँदै आएको छ, यद्यपि यस कार्यकालमा भने पूर्वअध्यक्षहरुको राय त्यति सम्मान भएको पाइँदैन ।

स्मरणीय छ, राणा, लोहनी र थापा तीनै जना पूर्वअध्यक्षहरु जेठ १५ गते चावहिल केन्द्रीय कार्यालयमा आयोजित पार्टी स्थापना दिवसको कार्यक्रममा गएनन् ।

पूर्वअध्यक्षहरुले पार्टीमा जथाभावी कारबाही नगर्न र महाधिवेशनको मिति तोक्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई कार्यसम्पादन समितिका बैठकमा भन्दै आए पनि त्यस्ता सुझावहरुको सुनुवाइ भएको देखिँदैन ।

पूर्वअध्यक्षहरुको यस्तो रायमा लिङ्देनले महाधिवेशनको अघिल्लो दिनसम्म कारबाही गर्छु भन्दै जवाफ फर्काएको संस्थापननिकट स्रोतको दाबी छ ।

यो पनि हेर्नुहोस् :

 

गरिबलाई झनै गरिब बनाउने ‘स्वर्णिम बजेट’

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याएको बजेटले गरिबी बढाउने चिन्ता प्रकट हुन थालेको छ । आलोचकहरूले बजेटलाई ‘गरिबलाई झनै गरिब बनाउने बजेट’ भनेका छन् ।

सरकारले भने बजेटलाई आर्थिक सुधार, राजस्व विस्तार र मध्यमवर्गमैत्री दस्तावेजका रूपमा प्रस्तुत गरेको छ ।

विद्युत् उपभोगमा नयाँ कर, शिक्षा क्षेत्रमा समता शुल्क, अप्रत्यक्ष करको विस्तार तथा निम्न आय भएका वर्गका लागि प्रत्यक्ष राहत कार्यक्रमको अभावले मजदुर, किसान र श्रमजीवी वर्ग थप आर्थिक दबाबमा पर्ने विश्लेषण गरिएको छ।

बजेटले मध्यमवर्गलाई कर छुट र तलब वृद्धिजस्ता केही सुविधा दिएको भए पनि दैनिक जीवनका आधारभूत आवश्यकतामा नयाँ आर्थिक भार थपिएकाले निम्नवर्ग सबैभन्दा बढी प्रभावित हुने देखिएको छ।

सबैभन्दा बढी आलोचना विद्युत् क्षेत्रमा गरिएको नयाँ व्यवस्थालाई लिएर भइरहेको छ। सरकारले मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत कर लगाउने घोषणा गरेको छ।

सरकारी पक्षले यसलाई राजस्व संकलनको उपायका रूपमा व्याख्या गरे पनि आलोचकहरूले यसले लाखौं सामान्य परिवारको मासिक खर्च बढाउने बताएका छन्।

पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत्मा कर लगाउने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। उनका अनुसार विद्युत् आजको आवश्यकता हो, विलासिताको वस्तु होइन।

‘राज्यले विद्युत् प्रयोग बढाउन प्रोत्साहन गर्नुपर्ने बेला कर थपेर जनतालाई दण्डित गर्न खोजिएको छ,’ घिसिङले प्रतिक्रिया दिएका छन्।

उनका अनुसार विद्युतीय चुलो प्रयोग गरेर खाना पकाउने, पानी तताउने तथा अन्य घरेलु प्रयोजनमा विद्युत् प्रयोग गर्ने परिवारको खर्च प्रत्यक्ष रूपमा बढ्नेछ। विशेषगरी सीमित आम्दानी भएका परिवारहरूका लागि यो अतिरिक्त भार बन्नेछ।

अर्थशास्त्रीहरूका अनुसार विद्युतमा कर लगाउँदा त्यसको असर घरपरिवारमा मात्र सीमित हुँदैन। साना उद्योग, होटल, पसल तथा सेवा क्षेत्रको सञ्चालन खर्च बढ्छ। त्यसपछि व्यवसायीहरूले लागत उपभोक्तामाथि सार्ने भएकाले बजारमा वस्तु तथा सेवाको मूल्य वृद्धि हुने सम्भावना रहन्छ।

यसले अन्ततः महँगी बढाउने र त्यसको सबैभन्दा ठूलो मार गरिब तथा निम्न आय भएका वर्गले व्यहोर्नुपर्ने अवस्था सिर्जना गर्ने विश्लेषण गरिएको छ।

शिक्षा क्षेत्रमा पुनः लागू गरिएको ३ प्रतिशत समता शुल्क पनि विवादको विषय बनेको छ। सरकारले यसलाई शैक्षिक समानता कायम गर्ने उपायका रूपमा प्रस्तुत गरेको छ। तर, शिक्षाविद्हरूले यो शुल्कले शिक्षा झन् महँगो बनाउने चेतावनी दिएका छन्।

शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार निजी विद्यालय र कलेजको शुल्क पहिले नै धेरै परिवारको पहुँचभन्दा बाहिर पुगिसकेको छ। यस्तो अवस्थामा थप शुल्क लगाउँदा निम्न र निम्न-मध्यम वर्गका विद्यार्थीहरू शिक्षाबाट वञ्चित हुने जोखिम बढ्नेछ।

आलोचकहरूका अनुसार बजेटको अर्को कमजोरी भनेको गरिबमुखी कार्यक्रमको अभाव हो। किसान, मजदुर, बेरोजगार युवा, सुकुम्बासी तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूका लागि बजेटमा कुनै ठूलो राहत प्याकेज देखिँदैन।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि बजेटले निम्नवर्गलाई उपेक्षा गरेको टिप्पणी गरेका छन्। उनका अनुसार सरकारले मध्यमवर्गलाई लक्षित कार्यक्रम ल्याए पनि समाजको सबैभन्दा कमजोर वर्गका लागि स्पष्ट योजना प्रस्तुत गर्न सकेको छैन।

उनले किसान, श्रमिक र बेरोजगार युवाको आय बढाउने तथा उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्ने ठोस कार्यक्रम आवश्यक रहेको बताएका छन्।

आधारभूत सेवामा कर थपेर राजस्व उठाउने नीति सामाजिक न्यायको दृष्टिकोणबाट उचित नहुने उनको भनाइ छ।

ग्रामीण क्षेत्रमा बस्ने किसान, दैनिक ज्यालादारी गर्ने मजदुर तथा न्यून आम्दानी भएका परिवारहरू अहिले पनि बढ्दो महँगीसँग जुधिरहेका छन्।

खाद्यान्न, यातायात, स्वास्थ्य र शिक्षाको खर्च निरन्तर बढिरहेको अवस्थामा नयाँ कर तथा शुल्कले उनीहरूको आर्थिक अवस्था अझ कमजोर बनाउने चिन्ता व्यक्त गरिएको छ।

सरकारले बजेटलाई सुधार र समृद्धिको आधार भनेको छ। तर विद्युतमा कर, शिक्षामा शुल्क र गरिबमुखी कार्यक्रमको अभावका कारण यो बजेटले निम्न आय भएका वर्गको जीवन अझ कठिन बनाउने चिन्ता व्यापक रूपमा व्यक्त हुन थालेको छ। अहिलेको बहसको केन्द्रमा पनि यही प्रश्न छ- राजस्व बढाउने नाममा जनताको आधारभूत जीवनमाथि थप भार त थोपारिएन?

राप्रपामा धवलको बिद्रोह, नयाँ दल घोषणा नजिक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र लामो समयदेखि चुलिँदै आएको आन्तरिक विवाद अब औपचारिक विभाजनको चरणमा पुगेको छ।

पार्टीका महामन्त्री डा. धवलशम्शेर जबराको नेतृत्वमा रहेको समूह राप्रपाबाट अलग भएर नयाँ राजनीतिक दल गठन गर्ने तयारीमा जुटेको छ।

सोमबार काठमाडौंमा बोलाइएको विशेष भेलामार्फत नयाँ दल निर्माण प्रक्रियालाई औपचारिकता दिने तयारी गरिएको राणानिकट नेताहरूले बताएका छन्।

राप्रपाभित्र अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशम्शेर राणा समूहबीच पछिल्ला तीन वर्षदेखि बढ्दै गएको राजनीतिक तथा संगठनात्मक दूरी अन्ततः विभाजनतर्फ उन्मुख भएको हो।

राणा पक्षले पार्टी नेतृत्वले विधानअनुसार संगठन सञ्चालन गर्न नसकेको, निर्णय प्रक्रियामा एकलौटीपन बढेको तथा आन्तरिक लोकतन्त्र कमजोर बनाइएको आरोप लगाउँदै आएको छ।

राणानिकट एक पूर्वपदाधिकारीका अनुसार अब पार्टीभित्र सुधारको सम्भावना सकिएको निष्कर्षमा पुगेपछि नयाँ राजनीतिक शक्ति निर्माण गर्ने निर्णय गरिएको हो।

उनका अनुसार नयाँ दलमा राप्रपाका पूर्वअध्यक्षहरू लोकेन्द्रबहादुर चन्द, पशुपतिशम्शेर जबरा, कमल थापा, प्रकाशचन्द्र लोहनी लगायतका नेताहरू नयाँ दलको संरचनामा नहुने दाबी गरिएको छ।

राप्रपाको २०७८ सालको महाधिवेशनमा अध्यक्ष लिङ्देनलाई नेतृत्वमा पुर्‍याउन धवलशम्शेरले महत्वपूर्ण भूमिका खेलेका थिए।

तर, त्यसपछि दुवै नेताबीचको सम्बन्ध क्रमशः चिसिँदै गयो। संगठन सञ्चालन, जिम्मेवारी बाँडफाँट र पार्टीको भावी रणनीतिलाई लिएर असन्तुष्टि बढ्दै गएको थियो।

राणा क्यान्सर उपचारका लागि भारतको दिल्ली गएका बेला उनीसँग रहेको संगठन विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष बुद्धिमान तामाङलाई दिइएको घटनालाई पनि राणा पक्षले सम्बन्ध बिग्रनुको एउटा कारणका रूपमा लिएको छ।

त्यसपछि १५ चैत २०८१ मा भएको तीनकुने राजावादी प्रदर्शन हिंसात्मक बनेपछि राणा, रवीन्द्र मिश्र लगायतका नेताहरू पक्राउ परे। राणा पक्षले त्यसबेला पार्टी नेतृत्वले आफूहरूको रिहाइका लागि कुनै सक्रियता नदेखाएको आरोप लगाउँदै आएको छ।

त्यसपछि पार्टीभित्र राणानिकट १० भन्दा बढी नेताहरूलाई जिम्मेवारीबाट हटाइएपछि विवाद झन् चर्किएको थियो। पछिल्ला केन्द्रीय समिति तथा पदाधिकारी बैठकहरूमा दुवै पक्षबीच खुला मतभेद देखिन थालेका थिए।

राणा पक्षले गत शुक्रबार सम्पन्न राप्रपाको स्थापना दिवस कार्यक्रमलाई पनि विभाजनको संकेतका रूपमा व्याख्या गरेको छ।

कार्यक्रममा अध्यक्ष लिङ्देनसहित सीमित नेताहरू मात्र सहभागी भएको र पार्टीका अधिकांश वरिष्ठ पदाधिकारी अनुपस्थित थिए ।

राणानिकट नेता दमन बस्नेतका अनुसार पछिल्लो समय पार्टीभित्र संवाद र सहकार्यको वातावरण समाप्तप्रायः भएको छ।

राणा पक्षले गठन गर्न लागेको नयाँ दलले आफूलाई ‘राष्ट्रवादी वैकल्पिक शक्ति’ का रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।

दलको मुख्य एजेन्डामा राजसंस्था पुनःस्थापना, हिन्दु राष्ट्रको पुनःस्थापना, संघीयताको पुनरावलोकन तथा राष्ट्रवादी राजनीतिक धारलाई एकीकृत गर्ने विषय रहने बताइएको छ।

नयाँ दलको नेतृत्व धवलशम्शेर जबराले गर्ने लगभग निश्चित भएको स्रोतहरूको दाबी छ। साथै व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं लाई कुनै विशेष भूमिकामा ल्याउने विषयमा समेत छलफल भइरहेको बताइएको छ। यद्यपि प्रसाईंको औपचारिक सहभागिताबारे अन्तिम निर्णय भइसकेको छैन।

यसैगरी राप्रपाबाट बाहिरिएका रवीन्द्र मिश्र, शरदराज पाठकलगायत व्यक्तिहरूसँग पनि नयाँ सहकार्यबारे संवाद भइरहेको जनाइएको छ।

स्रोतका अनुसार पूर्वमन्त्री दिलनाथ गिरी, दिलविकास राजभण्डारी, सगुन लावती, नारायण कोइरालालगायत नेताहरू नयाँ दलमा सक्रिय भूमिका खेल्न तयार छन्।

राणा पक्षको दाबीअनुसार प्रारम्भिक चरणमै करिब एक सय नेताहरूले सामूहिक रूपमा राप्रपा परित्याग गर्न सक्ने सम्भावना छ। यदि त्यसो भयो भने राप्रपाले संगठनात्मक रूपमा ठूलो क्षति व्यहोर्नुपर्ने विश्लेषण गरिएको छ।

यता पार्टी विभाजन रोक्न वरिष्ठ नेताहरूले अन्तिम प्रयास जारी राखेका छन्। पशुपतिशम्शेर जबरा, प्रकाशचन्द्र लोहनी लगायतका नेताहरूले राणालाई पार्टीभित्रै बसेर समाधान खोज्न आग्रह गरेका छन्। आगामी महाधिवेशनमार्फत नेतृत्व र संगठनसम्बन्धी विवाद समाधान गर्न सकिने प्रस्तावसमेत राखिएको बताइएको छ।

तर राणा पक्ष भने त्यसमा सहमत देखिएको छैन। उनीहरूको निष्कर्षमा पार्टी नेतृत्वले महाधिवेशनसमेत टार्ने रणनीति अपनाएको र आन्तरिक लोकतन्त्रलाई कमजोर बनाएको छ।

यसबीच कमल थापाले सार्वजनिक रूपमा पार्टी एकता जोगाउन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले विभाजनले राजावादी आन्दोलन र राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने भन्दै असन्तुष्टिहरूको समाधान पार्टीभित्रै खोज्नुपर्ने बताएका छन्।

नेपालको राजनीतिक इतिहासमा राप्रपा विभाजन र पुनःएकीकरणको चक्रबाट बारम्बार गुज्रिएको दल हो।

२०४७ सालदेखि नै नेतृत्व विवादका कारण विभिन्न गुटमा विभाजित हुँदै आएको राप्रपा पछिल्ला तीन दशकमा पटक-पटक फुट र जुटको प्रक्रियाबाट गुज्रिएको छ।

अहिले देखिएको संकटले पनि पार्टीलाई पुनः अर्को विभाजनतर्फ धकेल्ने संकेत गरेको राजनीतिक वृत्तमा चर्चा छ।

यदि धवलशम्शेर जबरा समूहले अपेक्षाअनुसार सामूहिक बहिर्गमन गर्दै नयाँ दल घोषणा गर्‍यो भने त्यसले केवल राप्रपामात्र होइन, समग्र राजावादी राजनीतिक धारको शक्ति सन्तुलनलाई समेत प्रभावित पार्ने देखिएको छ।

गोली हानी सिक्री लुटेरा पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हुलहुज्जतसहित कारागारबाट निस्किएपछि केन्द्रीय कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । पक्राउ पर्ने गणेश कार्की छन् । उनी घाइते भएका छन् ।

शनिबार दिउँसो सुकेधारामा कार्की र उनका एक सहयोगीले एक महिलाको आँखामा खुर्सानीको धुलो छर्केर सुनको सिक्री लुटेका थिए।

घटनापछि फरार भएका उनीहरूको खोजीका क्रममा प्रहरी टोली जडीबुटी पुगेको थियो। त्यही क्रममा कार्कीसँग जम्काभेट भएपछि गोली चलाएर नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ।

रास्वपा सभापति लामिछाने उनका समर्थक र पार्टीका नेता कार्यकर्ताले गत वर्षको २४ भदौमा हुलहुज्जत गर्दै निकालिएको केही बेरमै देशभरबाट १४ हजार बढी कैदीबन्दी फरार भएका थिए । त्यसमध्येका एक जना कार्की थिए ।

उनी डाँकाचोरी मुद्दामा कैद भुक्तान गर्दै थिए । फरार भएपछि पनि उनी  आपराधिक क्रियाकलापमै संलग्न थिए । पछिल्लोपटक शनिबार महिलाको आँखामा खुर्सानीको धुलो हालेर सुनको सिक्री लुटेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै कार्कीलाई नियन्त्रणमा लिन खोज्दा मुठभेड भएको र त्यस क्रममा गोली चलाइएको प्रहरीले जनाएको छ। कार्कीको बायाँ खुट्टामा गोली लागेको छ भने उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार पक्राउ अभियानका क्रममा प्रतिरोध भएपछि प्रहरीले जवाफी कारबाही गरेको थियो।

उक्त घटनामा एक जना प्रहरी कर्मचारी पनि घाइते भएका छन्। घाइते प्रहरीको कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

लुटपाटमा संलग्न अर्का आरोपी विष्णु गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ। दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।

प्रहरी अधिकृतहरूका अनुसार केही समयअघि कपन क्षेत्रमा समेत उनले प्रहरीमाथि खुर्सानीको धुलो छर्केर भाग्न सफल भएका थिए।

पछिल्लो पटक भने सुकेधाराको लुटपाट घटनापछि प्रहरीको खोजीमा परेका उनी जडीबुटीमा पक्राउ परेका हुन्।

प्रहरीले कार्कीको आपराधिक सञ्जाल, फरार अवधिमा भएका गतिविधि र अन्य सम्भावित घटनामा संलग्नताबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

 

0000

 

बालेनले जेलमा रहेका जेन-जीको रिहा गरेनन् (भिडियो वार्ता)

काठमाडौं । जेन-जी अभियन्ता सरिष्मा थापाले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारप्रति गम्भीर असन्तुष्टि जनाउँदै वर्तमान राजनीतिक अभ्यास र सुशासनको अवस्थामाथि प्रश्न उठाएकी छन्।

थापाले सरकारको निर्णय प्रक्रिया, आन्दोलनपछिको व्यवस्थापन र जनअपेक्षाबीच ठूलो अन्तर रहेको टिप्पणी गर्दै बालेन नेतृत्वको कार्यशैलीलाई आलोचनात्मक दृष्टिले मूल्यांकन गर्नुपर्ने बताएकी हुन्।

थापाले हालै नेपालवान एचडीसँगको अन्तर्वार्तामा जेन-जी आन्दोलनले उठाएको सुशासन, भ्रष्टाचार नियन्त्रण, समान अवसर र न्यायको एजेन्डा व्यवहारमा पर्याप्त रूपमा कार्यान्वयन नभएको  दाबी गरिन् ।

उनका अनुसार आन्दोलनले अपेक्षा गरेको परिवर्तनको गति र सरकारको कामकारबाहीबीच ‘ठूलो दूरी’ देखिएको छ। उनले  घाइते, सहिद परिवार र आन्दोलनसँग जोडिएका मुद्दामा राज्यको ढिलासुस्तीप्रति असन्तोष व्यक्त गरिन्।

उनका भनाइ अनुसार जेन-जी आन्दोलन नेतृत्व परिवर्तनका लागि नभई प्रणालीगत सुधार र भ्रष्टाचारविरुद्धको जनदबाब थियो। तर, आन्दोलनपछि बनेको बालेन सरकारले ती अपेक्षालाई पूर्ण रूपमा सम्बोधन गर्न नसकेको उनले दाबी गरिन्। ‘घाइतेहरूको उपचार, राहत र पक्राउ परेकाहरुको रिहाइ प्रक्रिया अझै स्पष्ट छैन,’ भन्ने आशयमा उनले सरकारको आलोचना गरिन् ।

थापाले बालेन सरकारले सुकुम्बासीमाथि अत्याचार गरेको भन्दै आपत्ति जनाइन् । उनका अनुसार राज्यले विस्थापनभन्दा पहिले व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने हो, तर व्यवहारमा त्यसको उल्टो अभ्यास देखिएको छ। उनले सुकुम्बासीलाई अपराधीकरण गर्ने प्रवृत्ति गलत भएको बताइन्।

त्यस्तै, उनले बालेन सरकारमाथि जनअपेक्षा अनुसारको संरचनात्मक सुधार गर्न नसकेको आरोप लगाइन्। आन्दोलनले उठाएका रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासनका विषयहरूमा ठोस परिणाम देखिन नसकेको उनको टिप्पणी छ।

उनले पुराना राजनीतिक दलहरूको असफलताका कारण बालेन शाहजस्ता स्वतन्त्र नेतृत्वप्रति आकर्षण बढेको स्वीकार गरे पनि अहिलेको अवस्थामा त्यो विश्वास टिकाइराख्न कार्यसम्पादन आवश्यक भएको बताइन्। ‘आशा देखाएर मात्रै हुँदैन, परिणाम देखिनुपर्छ,’ उनको भनाइ छ।

थापाले सुशासनको परिभाषा भ्रष्टाचार नियन्त्रणमा सीमित नभई नागरिकको दैनिक जीवनसँग जोडिनुपर्ने बताइन्। शिक्षा, स्वास्थ्य, न्याय र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित नभएसम्म सुशासनको लक्ष्य पूरा नहुने उनको धारणा छ।

यहाँ छ, थापासँग गरिएको पूरा संवादको भिडियो लिङ्क

अर्थ मन्त्रालयको वेबसाइटबाट आर्थिक विधेयक गायब

काठमाडौं।  आर्थिक विधेयक २०८३ अर्थ मन्त्रालयको वेबसाइटबाट हटाइएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेलगत्तै उक्त विधेयक मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको थियो। तर शनिबार भने विधेयक वेबसाइटमा उपलब्ध नभएको देखिएको छ।

आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्ताव गरेका विभिन्न कर नीतिबारे बहस चलिरहेका बेला विधेयक वेबसाइटबाट हटाइएको हो।

विशेषगरी विद्युतीय सवारीसाधनमा लगाइएको करको दरलाई लिएर आलोचना बढेपछि मन्त्रालयले विधेयक वेबसाइटबाट हटाएको हुन सक्ने अनुमान गरिएको छ।

यद्यपि, यस विषयमा अर्थ मन्त्रालयले औपचारिक प्रतिक्रिया दिएको छैन।

शक्ति राष्ट्रहरूको राडरमा नेपाल : बालेन नेतृत्वको सरकारपछि बढ्दै अन्तर्राष्ट्रिय चासो

काठमाडौं। भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि बनेको नयाँ राजनीतिक समीकरणले नेपालको आन्तरिक राजनीति मात्र हैन भूराजनीतिक सन्तुलनसमेत नयाँ चरणमा प्रवेश गरेको छ।

त्यसपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकार गठनसँगै नेपाल पुनः अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको रणनीतिक चासोको केन्द्रमा परेको हो। 

नेपालप्रति देखिएको अन्तर्राष्ट्रिय चासो सरकार परिवर्तनको सामान्य चासो मात्र हैन,लामो समयदेखि थुप्रिँदै आएको राजनीतिक अस्थिरता, नीतिगत अस्पष्टता र विकासको सुस्त गतिपछि देखिएको नयाँ अपेक्षासँग पनि जोडिएको छ।

पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय समुदायले नेपाललाई ‘उच्च जोखिम तर उच्च सम्भावना भएको देश’ का रूपमा हेर्दै आएको थियो। तर नयाँ सरकारपछि त्यो दृष्टिकोण क्रमशः ‘अवसरमुखी’ बन्दै गएको देखिन्छ।

पछिल्ला एक दशकमा नेपालले बारम्बार सरकार परिवर्तन, कमजोर प्रशासनिक क्षमता, भ्रष्टाचारका आरोप, र परियोजनाको ढिलाइ जस्ता समस्याको सामना गर्दै आएको थियो। यसले विदेशी लगानीकर्ता तथा विकास साझेदारहरूमा निराशा बढाएको थियो।

यद्यपि, भूराजनीतिक दृष्टिले नेपाल सधैं नै भारत, चीन, अमेरिका र युरोपका लागि संवेदनशील क्षेत्र रहँदै आएको छ।

अहिलेको सरकारलाई अन्तर्राष्ट्रिय समुदायले ‘सुधारमुखी र परिणाममुखी’ सरकारका रूपमा हेर्न थालेको देखिन्छ। दुईतिहाइ समर्थन, युवा नेतृत्व र परिवर्तनको स्पष्ट एजेन्डाले यो अपेक्षा थप बलियो बनाएको छ।

विश्लेषकहरूका अनुसार सरकारको प्रारम्भिक संकेतहरू सकारात्मक देखिए पनि कार्यान्वयन क्षमता, नीति स्थायित्व र संस्थागत सुधारको वास्तविक परिणाम अझै परीक्षणकै चरणमा छ। अहिलेको अवस्था ‘उत्साह र प्रतीक्षा’ दुवैको मिश्रण भएको बताइन्छ।

नेपालमा अहिले भारत, चीन, अमेरिका, युरोपेली युनियन, जापान, दक्षिण कोरिया, बेलायत र अस्ट्रेलियालगायत प्रमुख शक्ति राष्ट्रहरूको कूटनीतिक सक्रियता बढेको छ। उच्चस्तरीय भेटघाट, नीति संवाद र लगानीसम्बन्धी छलफलहरू तीव्र भएका छन्। 

प्रधानमन्त्री स्वयं युवा हुनु र मन्त्रिपरिषद्मा पनि ४० वर्षमुनिका धेरै सदस्यहरूको उपस्थिति हुनु दक्षिण एसियाली राजनीतिक परम्पराभन्दा फरक प्रयोगका रूपमा हेरिएको छ। यसले नेपालमा नयाँ पुस्ताको राजनीतिक उदयको संकेत दिएको अन्तर्राष्ट्रिय विश्लेषण छ।

विशेषगरी जेनजी आन्दोलनपछि आएको राजनीतिक परिवर्तनलाई केही अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले ‘जनचेतनाबाट निर्देशित राजनीतिक मोड’ का रूपमा पनि व्याख्या गर्न थालेका छन्। 

नेपालको लामो समयदेखिको समस्या नीतिगत अस्थिरता र परियोजनाको ढिलाइ रहँदै आएको छ। सरकार परिवर्तनसँगै नीति फेरिने प्रवृत्तिले दीर्घकालीन लगानीमा बाधा पुर्‍याएको थियो।

तर अहिलेको सरकार स्थायित्वतर्फ उन्मुख हुने संकेतले विदेशी लगानीकर्तामा आशा बढाएको छ। ऊर्जा, सूचना प्रविधि, पर्यटन, कृषि, पूर्वाधार र डिजिटल अर्थतन्त्रलाई प्रमुख आकर्षणका क्षेत्रका रूपमा हेरिएको छ।

विश्लेषकहरूका अनुसार यदि स्थायित्व कायम रह्यो भने नेपालले ‘जोखिमयुक्त बजार’ बाट ‘उदीयमान अवसरको केन्द्र’ मा रूपान्तरण हुने सम्भावना छ।

चीनको रणनीतिक दृष्टि

चीनले नेपाललाई आफ्नो दक्षिणी सीमासँग जोडिएको अत्यन्त संवेदनशील रणनीतिक क्षेत्रका रूपमा हेर्छ। नयाँ सरकारपछि चिनियाँ कूटनीतिक सक्रियता बढ्नु यसै रणनीतिक सोचको हिस्सा मानिन्छ।

ऊर्जा, कृत्रिम बुद्धिमत्ता (एआई), स्वास्थ्य, कृषि र पूर्वाधारमा सहकार्य विस्तार गर्ने प्रस्ताव चीनले अघि सारेको देखिन्छ। बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत रेलमार्ग, सडक सञ्जाल र डिजिटल पूर्वाधार विकास चीनको दीर्घकालीन प्राथमिकतामा छ।

तर चीनको अर्को प्रमुख चासो भने नेपालमा पश्चिमी सुरक्षा प्रभाव विस्तार नहोस् भन्नेमा केन्द्रित रहेको विश्लेषण छ। त्यसैले आर्थिक सहकार्यसँगै राजनीतिक विश्वास निर्माणलाई पनि चीनले समान महत्व दिएको देखिन्छ।

अमेरिकाको बदलिँदो प्राथमिकता

अमेरिकाले नेपाललाई विकास सहायता प्राप्त गर्ने देशका रूपमा मात्र नभई रणनीतिक साझेदारका रूपमा हेर्न थालेको संकेत देखिन्छ। पहिले लोकतन्त्र, मानवअधिकार र जलवायु परिवर्तनमा केन्द्रित अमेरिकी चासो अहिले लगानी, डिजिटल अर्थतन्त्र र क्षेत्रीय सुरक्षा सन्तुलनतर्फ सरेको छ।

दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोरको हालैको नेपाल भ्रमणलाई यसै परिवर्तनको संकेतका रूपमा लिइएको छ। अमेरिका नेपाललाई चीनसँगको भूराजनीतिक प्रतिस्पर्धामा सन्तुलन कायम गर्ने महत्वपूर्ण स्थानका रूपमा समेत हेर्छ।

भारतको सन्तुलित रणनीति

भारत नेपालसँग ऐतिहासिक, सांस्कृतिक र भौगोलिक रूपमा गहिरो सम्बन्ध राख्ने देश हो। नयाँ सरकारपछि प्रारम्भिक रूपमा सकारात्मक संकेत देखिए पनि भारत अहिले ‘लो प्रोफाइल’ कूटनीति अपनाइरहेको देखिन्छ।

भारतको मुख्य चासो खुला सीमा सुरक्षा, ऊर्जा व्यापार, जलस्रोत, कनेक्टिभिटी र चीनको प्रभाव सन्तुलनमा केन्द्रित छ। भारत नेपाललाई आफ्नो ‘नेबरहुड फर्स्ट’ नीतिको केन्द्रमा राख्छ।

हाल भारतले सार्वजनिक अभिव्यक्तिभन्दा बढी कूटनीतिक संवादमार्फत नेपाल सरकारको प्राथमिकता बुझ्ने रणनीति अपनाएको छ।

युरोपेली युनियन र अन्य साझेदार

युरोपेली युनियन (ईयू)ले नेपाललाई लोकतान्त्रिक संक्रमण, सुशासन, मानवअधिकार र संस्थागत सुधारको दृष्टिले महत्वपूर्ण साझेदारका रूपमा हेर्छ। ‘टिम युरोप’ अन्तर्गत उच्चस्तरीय कूटनीतिक उपस्थिति यसैको संकेत मानिन्छ।

ईयूको प्राथमिकता सुशासन, भ्रष्टाचार नियन्त्रण, संघीयता सुदृढीकरण, हरित ऊर्जा, डिजिटलाइजेसन र जलवायु परिवर्तनसँग सम्बन्धित छ।

जापान, दक्षिण कोरिया, बेलायत र अस्ट्रेलियाले पनि नेपाललाई स्थायित्व र आर्थिक सम्भावनाको नयाँ केन्द्रका रूपमा हेर्न थालेका छन्। यी देशहरूको रुचि विशेषगरी पूर्वाधार, शिक्षा, प्रविधि र श्रम बजारसँग सम्बन्धित छ।

नेपाल अहिले दुर्लभ भूराजनीतिक अवसरको अवस्थामा छ, जहाँ प्रमुख शक्ति राष्ट्रहरू एकैसाथ सक्रिय छन्। सामान्यतया यस्तो समानान्तर चासो विकासशील साना देशहरूमा कमै देखिन्छ।

यदि नेपालले सन्तुलित परराष्ट्र नीति, राजनीतिक स्थायित्व, पारदर्शी शासन र आर्थिक सुधारलाई निरन्तरता दिन सके, ठूलो मात्रामा विदेशी लगानी, प्रविधि हस्तान्तरण र रोजगारी सिर्जना सम्भव देखिन्छ।

ऊर्जा निर्यात, डिजिटल अर्थतन्त्र, पर्यटन, कृषि आधुनिकीकरण र हरित विकास नेपालका लागि प्रमुख सम्भावित क्षेत्र हुन्।

तर चुनौती पनि उत्तिकै ठूलो छ। नेपाल कुनै पनि शक्ति राष्ट्रहरूको प्रतिस्पर्धाको मैदान बन्न नहुनेमा कूटनीतिक सन्तुलन आवश्यक छ। असंलग्नता, पञ्चशील सिद्धान्त र संयुक्त राष्ट्रसंघको बडापत्रमा आधारित नीति नै दीर्घकालीन हितमा हुने विश्लेषकहरूको भनाइ छ। 

अहिलेको अवस्था नेपालका लागि कूटनीतिक चासो मात्र नभई ऐतिहासिक विकास अवसर पनि हो। अन्तर्राष्ट्रिय समुदायले नेपाललाई सम्भावनाको देशका रूपमा हेर्न थालेको छ।

नेपालले यो अवसरलाई दीर्घकालीन रणनीतिमा रूपान्तरण गर्न सक्छ या सक्दैन त्यो त समयले बताउनेछ। यदि सक्यो भने आगामी दशक नेपालका लागि आर्थिक रूपान्तरण, पूर्वाधार विकास र राजनीतिक स्थायित्वको दशक बन्न सक्छ।

अन्यथा, यो अवसर  क्षणिक कूटनीतिक उत्साहमै सीमित हुन सक्ने जोखिम समेत उत्तिकै छ । 

 

नेपाल आउँदै अमेरिकी उपविदेशमन्त्री सारा

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स तीनदिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुग्दै छिन्।

नेपाल भ्रमणका क्रममा उनले विभिन्न सरकारी तथा कूटनीतिक भेटघाट गर्नुका साथै नेपालस्थित अमेरिकी दूतावासद्वारा आयोजना हुने ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथिका रूपमा सहभागिता जनाउने कार्यक्रम रहेको छ।

नेपाल भ्रमणमा आउने उनी हालसम्म नेपाल भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी सार्वजनिक कूटनीति अधिकारीमध्ये एक मानिन्छिन्।

दूतावासका अनुसार समिटले नेपाल–अमेरिका सम्बन्ध, नेतृत्व विकास, युवा सहभागिता तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा केन्द्रित छलफललाई प्रोत्साहन गर्नेछ।

यसैबीच, नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले गत जेठ ६ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए।

बेपत्ता भएको २ वर्षपछि फेला पर्‍यो यस्तो प्रमाण

काठमाडौं । अमेरिकाको भर्जिनियास्थित मनासास पार्कबाट नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको झन्डै दुई वर्षपछि नयाँ फरेन्सिक प्रमाण भेटिएको छ। 

अमेरिकी सञ्चारमाध्यम फक्स फाइभका अनुसार सन् २०२४ जुलाई–अगस्टमा मनासास पार्कस्थित आफ्नै घरबाट रहस्यमय रूपमा बेपत्ता भएकी २८ वर्षीया ममताको खोजी र अनुसन्धानका क्रममा एउटा आराबाट मानव कपाल र रौँका टुक्रा फेला परेका हुन्

भर्जिनियाको फरेन्सिक विज्ञान विभागका अनुसन्धानकर्ताका अनुसार बरामद प्रमाण अहिले राज्यका अधिकारीले थप परीक्षण गरिरहेका छन्।

अदालतको अभिलेखअनुसार आरामा फेला परेका तीनवटा मानव कपाल ‘न्युक्लियर डीएनए परीक्षण’का लागि उपयुक्त हुन सक्ने देखिएपछि विस्तृत परीक्षणका लागि फरेन्सिक बायोलोजी सेक्सनमा पठाइएको छ।

आराबाट बरामद ती कपाल अहिले राज्यको सेन्ट्रल ल्याबोरेटरीमा थप डीएनए विश्लेषणको प्रक्रियामा छन्।

हाल ममताका श्रीमान् नरेश भट्टमा हिरासतमा छन्। उनविरुद्ध श्रीमतीको हत्या गरेको र शव लुकाएको अभियोग छ। 

ममताको शव भने अहिलेसम्म फेला पर्न सकेको छैन।

 

फिफा विश्वकपको लागि क्यानडाको टोलीको घोषणा

 काठमाडौं । आगामी जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ का लागि क्यानडाले २६ सदस्यीय टोली घोषणा गरेको छ।

मुख्य प्रशिक्षक जेसी मार्सले विश्वकपका लागि अन्तिम टोली सार्वजनिक गरेका हुन्। प्रतियोगितामा क्यानडा समूह ‘बी’ मा परेको छ। यस समूहमा बोस्निया–हर्जगोभिना, स्वीट्जरल्यान्ड र कतार रहेका छन्। क्यानडाले जेठ ३० गते बोस्निया–हर्जगोभिनाविरुद्ध खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गर्नेछ।

क्यानडाको विश्वकप टोली

गोलरक्षक: म्याक्सिम क्रेपाउ, ओवेन गुडम्यान र डेने सेन्ट क्लेयर

रक्षक: मोइस बोम्बिटो, डेरेक कर्नेलियस, अल्फोन्सो डेभिस, लुक डे फौगेरोल्स, एलिस्टेयर जोनस्टन, अल्फी जोन्स, रिची लारिया, निको सिगुर र जोएल वाटरम्यान

मिडफिल्डर: अली अहमद, ताजोन बुकानन, म्याथ्यु चोइनियर, स्टिफन युस्टाक्वियो, मार्सेलो फ्लोरेस, इस्माइल कोने, लियाम मिलर, जोनाथन ओसोरियो, ज्याकब सफेलबर्ग

फरवार्ड: जोनाथन डेभिड, साइल लारिन, तानी ओलुवासेई र प्रोमिस डेभिड

 

रोबोटले बनाउनेछ कार अब

काठमाडौं । बीएमडब्लूले युरोपमा कार निर्माण प्रक्रियामा पहिलो पटक ह्युमानोइड (मान्छेजस्तै) रोबोट प्रयोग गर्ने भएको छ। कार उत्पादनमा दुई रोबोट प्रयोग गरिने योजना छ। हाल ती रोबोटहरू जर्मनीको लाइपजिग कारखानामा परीक्षण चरणमा छन्। बीएमडब्लूका प्रोसेस म्यानेजमेन्ट तथा डिजिटालाइजेसन प्रमुख माइकल निकोलाइड्सका अनुसार यो अटोमोबाइल उत्पादनको भविष्य हुनेछ।

कार उद्योगमा रोबोटिक आर्म र अन्य स्वचालित प्रणालीहरू दशकौँदेखि प्रयोग हुँदै आएका छन्। तर अहिले मानव आकृतिका रोबोटतर्फ किन जाने?

निकोलाइड्स भन्छन्, ‘रोबोट मानवजस्तै आकार र क्षमताको छ भने यसलाई जहाँसुकै मानव काम गर्ने स्थानमा सजिलै प्रयोग गर्न सकिन्छ।’ रोबोटको लागत घट्दै गएको र उत्पादन लाइन पुनः डिजाइन गर्नु अझै महँगो भएकाले मानव प्रक्रियासँग मिल्ने रोबोट प्रयोग गर्नु बढी लागत–प्रभावकारी भएको विज्ञहरू बताउँछन्।

गार्ट्नरका विश्लेषक बिल रेका अनुसार पहिले जब रोबोट अत्यन्त महँगो थियो, कारखाना नै रोबोटअनुसार पुनःसंरचना गरिन्थ्यो, तर अहिले अवस्था बदलिएको छ। हेक्सागनद्वारा विकसित ‘एइओन’ नामक रोबोट मानवजस्तै आकृतिको छ। यसको उचाइ १.६५ मिटर र तौल करिब ६० किलोग्राम छ।

यसले २१ वटा सेन्सरहरू क्यामेरा, राडार, माइक्रोफोन तथा बल र टर्क प्रयोग गर्छ। यो रोबोटले २.४ मिटर प्रति सेकेन्डको गति लिन सक्छ र छोटो समयका लागि १५ किलोग्राम तथा निरन्तर ८ किलोग्राम भार बोक्न सक्छ।

बीएमडब्लूमा यी रोबोटहरूलाई मानव टेलिओपरेसन र एनभिडियाको डिजिटल ट्विन सफ्टवेयर प्रयोग गरी सिमुलेसनमार्फत तालिम दिइएको हो। रोबोटले बारम्बार कार्य सिमुलेट गरेर उत्तम समाधान खोज्ने प्रक्रिया प्रयोग गरिएको छ।

रोबोटलाई पार्ट उठाउने जस्ता कार्य मानवले कसरी गर्छ भन्ने देखाएर पनि सिकाइएको छ। एइओन रोबोटको ब्याट्री लाइफ तीन घण्टा मात्र छ, तर यसले आफैं ब्याट्री बदल्न सक्छ।

बीएमडब्लूले यी रोबोटलाई पार्ट आपूर्ति गर्ने, ब्याट्री असेंबलीमा सहयोग गर्ने तथा पिक–एन्ड–प्लेस जस्ता कार्यमा प्रयोग गर्नेछ। बीएमडब्लूका अनुसार यी रोबोटले दोहोरिने र शारीरिक रूपमा कठिन काममा सहयोग गर्नेछन् र श्रम अभावको समस्या पनि समाधान गर्न मद्दत गर्नेछन्।

आइएम जीत बहादुर’ को ट्रेलर सार्वजनिक(ट्रेलरसहित)

काठमाडौं । अभिनेता जितु नेपालको निर्माणमा बनेको चलचित्र ‘आइ एम जीत बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ।

आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरले गाउँबाट सहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गरेको छ।

भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको चलचित्रमा जितु नेपाल मुख्य भूमिकामा छन् भने उनकी जोडीका रूपमा वर्षा राउतले अभिनय गरेकी छन्।

फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा ‘बाबा’, निरज नेपाल, अन्सु महर्जनलगायत कलाकारहरूको अभिनय रहेको छ।

यस चलचित्रका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन् भने राजन सिंखडा तथा दीपेन्द्र अधिकारी सह-निर्माताका रूपमा रहेका छन्।

ट्रेलर:

मलेसियासँग पराजित भयो नेपाल

काठमाडौं । एसियन गेम्स महिला क्रिकेट छनोट २०२६ को दोस्रो सेमिफाइनलमा नेपाल मलेसियासँग २ विकेटले पराजित भएको छ । 

मलेसियास्थित क्वालालम्पुरमा शनिबार भएको खेलमा १२७ रनको लक्ष्य मलेसियाले १८.४ ओभारमा ८ विकेटको क्षतिमा पूरा गरेको हो । 

नेपाल चिकित्सक संघको सम्मेलन सुरु

चितवन। नेपाल चिकित्सक सङ्घको आयोजनामा चितवनमा ‘अल नेपाल मेडिकल कन्फ्रेन्स (एनएमए कन–२०२६)’ सुरु भएको छ। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा सुरु भएको सम्मेलन आइतबारसम्म सञ्चालन हुनेछ।

सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीका अनुसार सम्मेलनमा नेपाल, भारत र चीनका विशेषज्ञ चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ। साथै, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी भएका छन्।

त्यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूको समेत सम्मेलनमा उपस्थिति रहेको छ।

थारू संघ महाधिवेशनमा कांग्रेस इतर समूहको अनुपस्थिति,को-को देखिए ?

काठमाडौं। नेपाली कांग्रेस (नेपाली कांग्रेस) को संस्थापन इतर समूहका प्रमुख नेताहरू नेपाल थारू संघ (नेपाल थारू संघ) को प्रथम महाधिवेशनमा अनुपस्थित भएका छन्।

सानेपामा सुरु भएको महाधिवेशनमा अध्यक्ष शिवनारायण महतो गुरौले आमन्त्रण गरे पनि इतर समूहका नेताहरू कार्यक्रममा उपस्थित नभएका हुन्।

अध्यक्ष महतोका अनुसार पार्टीका वरिष्ठ नेताहरू पूर्णबहादुर खड्का (पूर्णबहादुर खड्का) र शेखर कोइराला (डा. शेखर कोइराला) लाई औपचारिक रूपमा निमन्त्रणा गरिएको थियो। तर, खड्काले व्यक्तिगत कारण देखाउँदै उपस्थित हुन नसक्ने जानकारी दिएका थिए भने कोइरालासँग भेट नै हुन नसकेपछि अन्य माध्यमबाट निमन्त्रणापत्र पठाइएको उनले बताए।

महतोले महाधिवेशनलाई संस्थागत रूपमा अगाडि बढाउन सबै पक्षलाई सहभागी गराउने प्रयास भए पनि अपेक्षित सहभागिता नदेखिएको बताए।

सभापति गगनकुमार थापा (गगनकुमार थापा) को प्रमुख आतिथ्यतामा सुरु भएको महाधिवेशनमा पार्टीका विभिन्न तहका प्रतिनिधिहरू सहभागी छन्।

नेपाल थारू संघ कांग्रेसको नयाँ भ्रातृ संगठन हो, जसले २०७९ साल साउनमा केन्द्रीय कार्यसमितिबाट औपचारिक मान्यता पाएको थियो। तत्कालीन सभापति शेरबहादुर देउवा (शेरबहादुर देउवा) ले महतोको अध्यक्षतामा तदर्थ समिति गठन गरेका थिए।

महाधिवेशनमा देशभरबाट ७८३ प्रतिनिधि सहभागी हुने र नयाँ ५१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिने निर्वाचन समितिले जनाएको छ।

सौराहामा बोटिङ आकर्षण, पर्यटकलाई जंगलबीचको रोमाञ्चक अनुभव [फोटो-फिचर]

चितवन। चितवनको सौराहा भन्नेबित्तिकै जंगल सफारी, हात्ती प्रजनन केन्द्र, थारु संस्कृति र वन्यजन्तु अवलोकनको चित्र आँखाअघि आउँछ।
पछिल्लो समय भने सौराहामा थपिएको नयाँ पर्यटकीय गतिविधि ‘राप्ती नदी बोटिङ’ पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। जंगलको बीचबाट बग्ने राप्ती नदीमा सञ्चालन गरिएको बोटिङ सेवाले सौराहाको पर्यटनमा नयाँ आयाम थपेको छ।
गत कार्तिक महिनादेखि सञ्चालनमा आएको बोटिङ सेवा अहिले आन्तरिक तथा विदेशी पर्यटकका लागि विशेष आकर्षण बनेको छ। चितवन राष्ट्रिय निकुञ्जमा पर्ने राप्ती नदीमा जिन्दगानी घाटदेखि भिमपुर घाटसम्म करिब ६ किलोमिटर दूरीमा बोटिङ गराइन्छ।
यस क्रममा पर्यटकले नदी यात्रा गर्दै निकुञ्जको प्राकृतिक सौन्दर्य र वन्यजन्तुको अवलोकन गर्न पाउँछन्।
हाल बोटिङका लागि आठवटा डुङ्गा सञ्चालनमा रहेका छन्। प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तिरेर जोकोही पर्यटकले सेवा लिन सक्छन्। सञ्चालनमा आएको केही महिनामै करिब दुई हजार पर्यटकले बोटिङको अनुभव लिइसकेको व्यवस्थापन पक्षले जनाएको छ।
चितवन राष्ट्रिय निकुञ्जले टेन्डर आह्वान गरेपछि यो सेवा सञ्चालनमा आएको हो। यसको व्यवस्थापनको जिम्मा किनार रेष्टुरेन्ट एण्ड बारले लिएको छ। पर्यटन व्यवसायीहरूका अनुसार सौराहामा बसाइ लम्ब्याउने र पर्यटकलाई थप गुणस्तरीय सेवा दिने उद्देश्यले बोटिङ सेवा सुरु गरिएको हो।
बन्बास होटलका प्रबन्ध निर्देशक बासु ढुङ्गानाका अनुसार सौराहा केवल सस्तो पर्यटन गन्तव्य मात्र नभई उच्चस्तरीय तथा अन्तर्राष्ट्रिय पर्यटकका लागि समेत उपयुक्त गन्तव्य हो। ‘सौराहामा आउने पर्यटकलाई होटल र जंगल सफारीमा मात्रै सीमित नराखी थप स्तरीय अनुभव दिन बोटिङ सेवा सुरु गरिएको हो,’ उनले भने।
उनका अनुसार विशेषगरी स्तरीय होटलमा बस्ने पर्यटकहरू बोटिङमा सहभागी हुने गरेका छन्।
राप्ती नदीको शान्त जलयात्राका क्रममा पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको जैविक विविधतालाई नजिकबाट अवलोकन गर्न सक्छन्। नदी किनार र आसपासका जंगल क्षेत्रमा एकसिङ्गे गैँडा, चितवनका प्रसिद्ध रोयल बंगाल बाघ, मृग, घडियाल गोही, गोहीका अन्य प्रजाति तथा सयौं प्रजातिका चराहरू देख्न सकिन्छ। जाडोयाममा नेपाल आउने प्रवासी (माइग्रेटरी) चराहरूको अवलोकनसमेत बोटिङको अर्को आकर्षण बनेको छ।
सन् १९८४ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज हो। ९५२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको निकुञ्ज जैविक विविधताको दृष्टिले विश्वकै महत्वपूर्ण संरक्षित क्षेत्रमध्ये एक मानिन्छ। यहाँ ७०० भन्दा बढी वनस्पति, ६० भन्दा बढी स्तनधारी, ५४० भन्दा बढी चराचुरुङ्गी तथा विभिन्न सरीसृपका प्रजातिहरू पाइन्छन्। यही प्राकृतिक सम्पदालाई केन्द्रमा राखेर सौराहामा पर्यापर्यटन गतिविधि विस्तार हुँदै गएको छ।
पर्यटन व्यवसायीहरूका अनुसार बोटिङले केवल पर्यटकलाई नयाँ अनुभव मात्र दिएको छैन, स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पारेको छ। डुङ्गा चालक, पर्यटन श्रमिक, होटल व्यवसायी तथा स्थानीय समुदाय प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
यसका साथै बोटिङबाट संकलित आम्दानीको १० प्रतिशत रकम सामुदायिक वनलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसले संरक्षण र पर्यटनबीचको सम्बन्धलाई थप मजबुत बनाएको छ।
पछिल्ला वर्षहरूमा नेपालमा दिगो पर्यटन र पर्यापर्यटनको अवधारणाले महत्व पाउँदै गएको छ। सौराहाको बोटिङ सेवा त्यसैको एक उदाहरण बनेको छ, जहाँ प्राकृतिक सम्पदाको संरक्षणसँगै स्थानीय समुदायको आयआर्जन र पर्यटकलाई गुणस्तरीय अनुभव प्रदान गर्ने प्रयास गरिएको छ।
जंगलको बीचमा बग्ने राप्ती नदीमा डुङ्गा चढ्दै वन्यजन्तु र चराचुरुङ्गी अवलोकन गर्ने अवसरले सौराहाको पर्यटनलाई थप आकर्षक बनाएको छ।
त्यसैले, यदि तपाईं प्रकृतिसँग नजिक हुन चाहनुहुन्छ र चितवनको जंगललाई फरक कोणबाट अनुभव गर्न चाहनुहुन्छ भने सौराहाको बोटिङ यात्रा तपाईंका लागि उत्कृष्ट विकल्प हुन सक्छ।

तस्वीरहरू:

 

कसरी बन्दी बने ‘४५३ नेपाली’ भारतको कुशीनगरमा ?

काठमाडौं। भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट बन्धक बनाएर राखिएका ४ सय ५३ जना नेपालीको उद्धार गरिएको छ।

उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले संयुक्त अपरेसनमार्फत उद्धार गरी नेपाल ल्याएको हो। उद्धार गरिएका सबैलाई अहिले जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको छ।

लुम्बिनी प्रदेश प्रहरी र रूपन्देही प्रहरीको समन्वयमा गरिएको अपरेसनमार्फत शुक्रबार राति उद्धार कार्य सम्पन्न गरिएको र शनिबार नेपाल ल्याइएको प्रहरीले जनाएको छ। घटनालाई हालसम्मकै ठूलो मानव तस्करी तथा ठगीसँग जोडिएको आशंकाका रूपमा अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार नेपालका विभिन्न जिल्लाबाट युवायुवतीलाई आकर्षक रोजगारी, उच्च तलब तथा विदेशमा राम्रो अवसरको प्रलोभन देखाएर भारत पुर्‍याइएको थियो। प्रारम्भिक अनुसन्धानमा देखिएअनुसार उनीहरूलाई सीमावर्ती नाका सुनौली हुँदै कुशीनगर लगिएको जनाइएको छ ।

त्यसपछि उनीहरूलाई विभिन्न स्थानमा राखी आर्थिक असुली र नियन्त्रणमा राख्ने कार्य भएको पाइएको छ। केही पीडितबाट ७ हजार भारतीय रुपैयाँदेखि १ लाख रुपैयाँसम्म रकम असुल गरिएको प्रारम्भिक विवरणमा उल्लेख छ।

प्रहरी स्रोतका अनुसार यो घटनामा संगठित गिरोह संलग्न रहेको देखिएको छ। जसले नेपालभित्रैबाट मानिसहरूलाई भारत पुर्‍याउने, त्यहाँ नियन्त्रणमा राख्ने र पछि सदस्यता विस्तार तथा नेटवर्किङ व्यवसायको नाममा थप रकम असुल्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

रूपन्देही प्रहरी प्रमुख जनकबहादुर शाहीका अनुसार प्राप्त सूचनाका आधारमा लामो समयदेखि निगरानी गर्दै अपरेसन सञ्चालन गरिएको थियो। उनका अनुसार भारतीय प्रहरीसँगको समन्वय र उत्तर प्रदेश प्रशासनको सहयोगमा स्थल पहिचान गरी उद्धार सम्भव भएको हो।

प्रहरीले प्रारम्भिक बयानका आधारमा घटनालाई संगठित मानव तस्करी, ठगी र अवैध आर्थिक असुलीसँग सम्बन्धित जटिल संरचना भएको अनुमान गरेको छ।

गिरोहले युवायुवतीलाई सुरुमा ‘राम्रो काम’ को आश्वासन दिएर ल्याउने, त्यसपछि अलग-अलग समूहमा विभाजन गरेर नियन्त्रणमा राख्ने र आर्थिक दबाब सिर्जना गर्ने गरेको देखिएको छ।

कसैलाई तालिम दिने नाममा लामो समय राखिएको, कसैलाई सदस्यता विस्तारमा प्रयोग गरिएको तथा परिवारसँग सम्पर्क गर्न दिँदा धम्की र दबाब दिने कार्य समेत भएको प्रारम्भिक विवरणमा खुलेको छ।

नेपाल प्रहरीका अनुसार घटनामा संलग्न मुख्य गिरोहको पहिचान गर्ने काम जारी छ। सीमापार आपराधिक सञ्जालसँग जोडिएको हुन सक्ने भएकाले थप अनुसन्धानका लागि दुवै देशका सुरक्षा निकायबीच समन्वय बढाइएको छ।

उद्धारपछि सबै पीडितलाई सुरक्षित रूपमा नेपाल ल्याइएको र उनीहरूको स्वास्थ्य परीक्षण तथा प्रारम्भिक सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। केहीलाई परिवारसँग सम्पर्क गराइसकिएको छ भने बाँकीलाई क्रमशः जिम्मा लगाउने तयारी भइरहेको छ।

प्रहरीले घटनालाई गम्भीर अपराधका रूपमा लिँदै संलग्न व्यक्तिहरूको खोजी र पक्राउ प्रक्रिया अघि बढाउने जनाएको छ। साथै, यस्ता घटनाबाट बच्न युवायुवतीलाई विदेश तथा रोजगारीका प्रलोभनमा नपर्न पनि आग्रह गरिएको छ।

यस घटनाले सीमापार मानव तस्करी र अनौपचारिक नेटवर्किङ व्यवसायको नाममा हुने ठगीबारे थप सतर्कता आवश्यक रहेको देखाएको सुरक्षा निकायको भनाइ छ।