`

विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध ल क्याम्पसमा प्रदर्शन (भिडियो)

काठमाडौं। सरकारले विद्यार्थी संगठन खारेज गर्ने तयारी गरेको विरोधमा संयुक्त विद्यार्थी संगठनहरूले बिहीबार काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ‘कालो चस्मा कालो मन’, ‘नयाँ सरकारको उपलब्धि धनै धन’ जस्ता नारासहितका प्लेकार्ड बोकेर सरकारको कदम तत्काल फिर्ता लिन माग गरे।

ल क्याम्पसका विद्यार्थीहरूको अगुवाईमा गरिएको विरोध कार्यक्रममा विभिन्न छात्र संगठनका प्रतिनिधिहरू सहभागी थिए। प्रदर्शनकारीहरूले विद्यार्थी संगठन खारेज गर्ने निर्णय स्वतन्त्र अभिव्यक्ति र विद्यार्थी अधिकारमाथिको हस्तक्षेप भएको आरोप लगाएका छन्। 

बालेन सरकारविरुद्ध विद्रोह नजिक छन् मधेसका नागरिक : महन्थ ठाकुर

काठमाडौं । मधेसी समुदायबाट बालेन्द्र शाह (बालेन) पहिलोपटक प्रधानमन्त्री भएको एक महिना नबित्दै मधेसका नागरिकले सीमामा चरम दमन बेहोरेको भन्दै राष्ट्रियसभा सदस्य महन्थ ठाकुर असन्तुष्ट बनेका छन् ।

उनले मधेसका नागरिक बालेन सरकारविरुद्ध विद्रोहनजिक रहेको चेतावनी दिए । उनले नेपाल–भारत सीमा क्षेत्रमा मधेसका नागरिकविरुद्ध दुव्र्यवहार भएको बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै ठाकुरले सीमा नाकामा सर्वसाधारणले भोग्नुपरेको सास्ती र राज्यको उदासिनताले गर्दा आफूहरू ‘विद्रोहको नजिक’ पुगेको चेतावनीसमेत दिएका छन्।

मन्त्रीज्युहरू मिटिङमा व्यस्त हुनुहुन्छ, हाम्रो कुरा सुन्ने समय उहाँहरूसँग छैन। हामी विद्रोही त होइनौँ, तर राज्यको यस्तै व्यवहार रहिरहने हो भने हामी विद्रोहको निकै नजिक छौं,’ उनले भने।

एक सय रूपैयाँको सामान ल्याउँदा पनि भन्सार भनेर घन्टौं कुराउने, अनुहार हेरेर व्यवहार गर्ने र मानिसहरूलाई अपमानित गर्ने काम भइरहेको उनले बताए।

खाद्यान्न र नुन–तेलका लागि भारतीय बजारको बाध्यता छ। अहिले गरिब जनता आधा किलो चामल, पीठो, नुन र कुकिङ्ग तेलका लागि सीमा पारि जान बाध्य छन्। त्यही एक–दुई किलो सामान ल्याउँदा पनि सीमामा लुटिने र खोसिने डर छ,’ उनले भने।

नेपाल र भारतबीचको ‘रोटी–बेटी’ को सम्बन्धमा राज्यले कठोर व्यवहार देखाएकोमा उनले आपत्ति जनाएका छन्।

विवाहका गाडीहरूलाई रोक लगाउने र जन्ती–बरीतलाई पैदल हिँडाउन बाध्य पार्ने कार्यले दुई देशको सांस्कृतिक वातावरण बिगारिरहेको पनि उनले बताए।

वर्तमान सरकारलाई ‘हेलिकप्टर सरकार’ को संज्ञा दिँदै उनले राजधानीमा बस्ने मन्त्रीहरूलाई मधेसको भुइँमान्छेको पीडा थाहै बताए।

जब प्रधानमन्त्री बालेनलाई गीत चोरीको आरोप लाग्यो…(भिडियो)

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो हालको सांगीतिक यात्रामा प्रयोग गरेको चर्चित गीत ‘गरिबको चमेली बोल्दिने कोही छैन…’ चोरी गरेको आरोप लागेको छ। उक्त गीतका स्रष्टा रामेश्वर श्रेष्ठ (रामेश) ले एक अन्तर्वार्ताका क्रममा यो गीत प्रधानमन्त्रीले अनुमति बिना उपयोग गरेको बताएका हुन्। उनका अनुसार गीत सार्वजनिक रूपमा प्रयोग गर्दा सर्जकको अनुमति र उचित श्रेय दिनु कलाकारहरूको सम्मानका लागि अनिवार्य हो, तर यसमा त्यस्तो प्रक्रिया अपनाइएन।

यद्यपि, गायक रामेशले यस विषयलाई कानुनी विवादमा नलैजाने स्पष्ट गरेका छन्। रोयल्टीको दाबी पनि नगर्ने बताउँदै उनले आफूलाई आर्थिक पक्षभन्दा गीतको मर्म र सामाजिक सन्देश महत्त्वपूर्ण लाग्ने बताए। उनका अनुसार गीतमा उठाइएका विषयहरू गरिब, निमुखा, पीडित र सीमान्तकृत वर्गको आवाज राजनीतिक पदमा बसेकाहरूले व्यवहारमै कार्यान्वयन गर्न जरुरी छ।

रामेशले विगतका धेरै राजनीतिक नेताहरूले पनि आफ्ना गीत र आवाजलाई सत्तामा पुग्ने साधनका रूपमा मात्रै प्रयोग गरेको आरोप लगाए। उनका अनुसार गीत गाउँदै जनताको भावना उठाउने काम त धेरैले गर्छन्, तर शासनमा पुगेपछि यिनै वर्गको पक्षमा वास्तविक काम गर्नेहरू दुर्लभ हुन्छन्।

प्रधानमन्त्री शाहले उक्त गीतलाई र्‍याप शैलीमा गाउँदा युवा पुस्तामाझ यसको लोकप्रियता झनै बढेको थियो। तर गायक रामेशले लोकप्रियता मात्र पर्याप्त नहुने भन्दै अब व्यवहारमै ‘गरिबको चमेली’ को पक्षमा काम गरेर देखाउन प्रधानमन्त्रीसहित सत्ताधारीहरूलाई सुझाव दिएका छन्।

८ जना पक्राउ

सुनसरी। कोशी प्रदेशका विभिन्न जिल्लामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरको कारोबार दिनप्रतिदिन बढ्दै गएको पाइएको छ। पछिल्लो एकै दिनमा सुनसरी, झापा, मोरङ र उदयपुरबाट आठ जना कारोबारी पक्राउ परेका छन्। निरन्तर भइरहेको पक्राउले प्रदेशमा लागूऔषध कारोबार विस्तार हुँदै गएको र यसको नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको संकेत गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका सहायक प्रवक्ता सुमनकुमार तिम्सिनाका अनुसार ब्राउन सुगर कारोबारमा संलग्न गिरोहका आठ जनालाई पक्राउ गरिएको हो। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ बाट सैफ अली सिदिकी २० ग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् भने कोशी गाउँपालिका–१ बाट हरिबहादुर श्रेष्ठ ५३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएका छन्।

त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका-११ मा चेकजाँचका क्रममा संजोग राई, रुपेश दर्जी र अमृत दर्जीलाई २७ ग्रामभन्दा बढी ब्राउन सुगरसहित पक्राउ गरिएको छ। मोरङको विराटनगर-१६ बाट समिर चौधरी २१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लागूऔषध कारोबारमा संलग्न समूहहरू सक्रिय रूपमा फैलिँदै गएका कारण नियन्त्रणका लागि थप निगरानी र कडाइ आवश्यक देखिएको छ। पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

१० दिनपछि शल्यक्रिया सेवा पुनः सञ्चालनमा

सल्यान। जिल्ला अस्पताल सल्यानमा बन्द रहेको शल्यक्रिया सेवा करिब १० दिनपछि पुनः सञ्चालनमा आएको छ। विशेषज्ञ डाक्टरको अभावका कारण चैत २८ गतेदेखि रोकिएको सेवा मंगलबारबाट पुनः सुरु गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको हो।

अस्पतालमा मेडिकल अधिकृत डा. सुमन यादव आएपछि शल्यक्रिया सेवा पुनः सुचारु भएको कार्यालयले जानकारी दिएको छ। जिल्ला अस्पताल सल्यानका प्रमुख डा. अर्जुनकुमार बुढामगरका अनुसार कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयबाट गाइनोकोलोजिस्ट पठाउने प्रक्रिया पनि अघि बढाइएको छ।

मेडिकल अफिसरको व्यवस्थापनसँगै शल्यक्रिया सेवा सुरु भएको र गाइनोकोलोजिस्टसमेत आएपछि सेवा प्रवाह अझ सहज हुने अपेक्षा गरिएको छ।

शल्यक्रिया सेवा बन्द हुँदा जिल्लाका बिरामीहरूलाई ठूलो सास्ती खेप्नुपरेको थियो। सामान्य शल्यक्रियाका लागि समेत बिरामीहरू दाङ, सुर्खेत र नेपालगञ्ज जान बाध्य भएका थिए।

विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध ल क्याम्पसमा प्रदर्शन (तस्वीरहरु)

काठमाडौं । सरकारले विद्यार्थी संगठन खारेज गर्ने तयारी गरेको विरोधमा संयुक्त विद्यार्थी संगठनहरूले बिहीबार काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ‘कालो चस्मा कालो मन’, ‘नयाँ सरकारको उपलब्धि धनै धन’ जस्ता नारासहितका प्लेकार्ड बोकेर सरकारको कदम तत्काल फिर्ता लिन माग गरे।

ल क्याम्पसका विद्यार्थीहरूको अगुवाईमा गरिएको विरोध कार्यक्रममा विभिन्न छात्र संगठनका प्रतिनिधिहरू सहभागी थिए। प्रदर्शनकारीहरूले विद्यार्थी संगठन खारेज गर्ने निर्णय स्वतन्त्र अभिव्यक्ति र विद्यार्थी अधिकारमाथिको हस्तक्षेप भएको आरोप लगाएका छन्।

तस्वीरहरु:

स्वास्थ्य मन्त्रालयमा डा. मनोहर प्रधान विज्ञ सल्लाहकार नियुक्त

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रा.डा. मनोहर प्रधानलाई प्रमुख विज्ञ सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसपछि सरकारले उनको औपचारिक नियुक्ति प्रक्रिया अघि बढाएको हो। मन्त्रालय स्रोतका अनुसार उनलाई अवैतनिक विज्ञ सल्लाहकारका रूपमा नियुक्ति पत्र प्रदान गर्ने तयारी भइरहेको छ।

चिकित्सा र प्राध्यापन क्षेत्रमा लामो अनुभव हासिल गरेका प्रधानको नियुक्तिले मन्त्रालयको नीतिगत तथा प्राविधिक कार्यसम्पादनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

चितवनलाई कार्यथलो बनाएर स्वास्थ्य सेवा र शिक्षण क्षेत्रमा सक्रिय रहँदै आएका उनी विगत १८ वर्षदेखि कलेज अफ मेडिकल साइन्सेज, भरतपुरमा प्राध्यापनरत छन्। चिकित्सा शिक्षामा उनको योगदान उल्लेखनीय मानिन्छ।

प्रा.डा. प्रधान दुई पटक नेपाल मेडिकल काउन्सिलका निर्वाचित सदस्य भइसकेका छन्। साथै, उनले नेपाल चिकित्सक संघ, चितवन शाखाको उपाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन्। स्वास्थ्य क्षेत्रका विभिन्न तहमा उनको संलग्नताले नीति निर्माण र कार्यान्वयन दुबै क्षेत्रमा अनुभव प्रदान गरेको मानिन्छ।

रास्वपाको स्थापनाकालदेखि नै सक्रिय रहेका प्रधान पछिल्लो समय पार्टीको बागमती प्रदेश स्वास्थ्य तथा जनसंख्या विभागको संयोजकको रूपमा कार्यरत थिए। सो क्रममा उनले स्वास्थ्य क्षेत्र सुधारका लागि नीतिगत परिवर्तन, सेवा विस्तार र गुणस्तर अभिवृद्धिमा जोड दिँदै आएका थिए।

सरकारले स्वास्थ्य क्षेत्र सुधारलाई प्राथमिकतामा राख्दै अनुभवी विज्ञहरूलाई नीति निर्माणमा संलग्न गराउने प्रयास गरिरहेको छ। यस्तो सन्दर्भमा प्रा.डा. प्रधानको नियुक्ति सोही प्रयासको निरन्तरता मानिएको छ।

खुफिया अड्डामा छापा, ६ जना पक्राउ

विराटनगर। विराटनगर महानगरपालिका-९ सोमबारेस्थित एक खाली घरमा गोप्य रूपमा सञ्चालन हुँदै आएको तास खेल्ने अड्डामा प्रहरीले छापा मारेर ६ जनालाई पक्राउ गरेको छ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार बुधबार राति करिब ८ बजेतिर तास खेल्दै गरेका उनीहरूलाई नियन्त्रणमा लिइएको हो। उनले उक्त खाली घरलाई व्यवस्थित रूपमा तास खेल्ने स्थल बनाइएको पाइएको बताए।

‘एसी जडान गरेर आरामदायी वातावरण तयार पारिएको रहेछ,’ उनले भने, ‘त्यहाँ दैनिकजस्तै तास खेल्ने गरिएको पाइयो।’

प्रहरीले उक्त स्थानबाट तीन बुक तास, नगद ४४ हजार १६५ रुपैयाँ तथा भारतीय २ हजार ५०० रुपैयाँ बरामद गरेको जनाएको छ।

पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइ थप अनुसन्धान भइरहेको छ। उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ।

केरा नआउँदा कुलेश्वर फलफूल बजारका सटर बन्द (तस्वीरहरु)

काठमाडौं। बजारमा मागको तुलनामा आपूर्ति कम भएपछि केराको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ। सरकारले भारतीय केरा आयातमा रोक लगाएपछि त्यसको असर बजार मूल्यमा परेको हो।

खुद्रा बजारमा एक दर्जन केराको भाउ ३५० रुपैयाँसम्म पुगेको उपभोक्ताले बताइरहेका छन्। केरा कम आउन थालेपछि थोकमा केरा बेच्ने कुलेश्वर फलफूल बजारका कतिपय थोक पसल बन्द नै भएका छन्।

फलफूल व्यवसायी दिलिप राउतले भने- स्थानीय उत्पादनले माग नधान्ने रहेछ। केरा नभएर कतिपय पसल बन्द गर्नुपरेको छ। हामी मर्कामा परेका छौं। खर्च धान्नै गाह्रो भएको छ। भारतबाट केरा आउनैपर्छ।

 

सुकुम्बासी वस्ती हटाउनु भन्ने निर्देशनपछि बालेनको चौतर्फी विरोध

काठमाडौँ। सरकारले थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती बलपूर्वक हटाउने तयारी गरेपछि ‘जेनजेड रेड फोर्स नेपाल’ले कडा आपत्ति जनाएको छ।

बुधबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सुरक्षा निकायका प्रमुखलाई सिंहदरबार बोलाएर यही शनिबार र आइतबार सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको उक्त निर्णयप्रति प्रतिक्रिया दिंदै जेनजेड फोर्सकी केन्द्रीय संयोजक स्मृति तिमल्सिनाले विज्ञप्ति जारी गरेको छ। उनले निर्वाचनका बेला सुकुम्बासी बस्तीमा पुगेर गरेका प्रतिवद्धता सम्झन प्रधानमन्त्री बालेन र सत्तारुढ रास्वपा सभापति रवि लामिछानेलाई आग्रह गरेकी छन्।

‘वर्तमान प्रधानमन्त्री बालेन शाहले अतिक्रमित सुकुम्बासी बस्ती शनिबार र आइतबारभित्र खाली गराउन दिएको आदेशप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ तिमल्सिनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा विगतको निर्वाचनका क्रममा बालेन शाह, रवि लामिछाने तथा अन्य सत्तारुढ नेताले सुकुम्बासी बस्तीमै पुगेर दिएका अभिव्यक्ति ‘हामी सुकुम्बासी हटाउँदैनौँ, डोजर चलेमा आफैँ छाती थाप्न आउँछौँ’ समेत स्मरण गराइएको छ।

उनको यो निर्णयको अरु विभिन्न जेनजी समुहहरुले पनि विरोध जनाइरहेका छन्। तर बालेन भने पछि हट्ने मनस्थितिमा छैनन्।  महानगरको मेयर हुँदा भत्काउन नपाएका उनले यसपटक भने सुकुम्बासी वस्तीहरुलाई जसरी पनि भत्काईछाड्ने संकेत देखाएका छन्। 

प्रधानमन्त्रीको निर्देशनपछि चौतर्फी विरोध चर्किंदै गएको छ। उचित व्यवस्थापनबिना हतारमा बस्ती हटाउने निर्णयले सरकार आफैँलाई अप्ठ्यारोमा पार्ने चेतावनी आलोचकहरूले दिएका छन्।

१ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । बिहीबार पनि सुन–चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९८ हजार ७ सय रुपैयाँमा झरेको छ। अघिल्लो दिन यो मूल्य ३ लाख ५ सय रुपैयाँ थियो।

गत बिहीबार प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन, लगातार घट्दै आज २ लाख ९८ हजार ७ सय रुपैयाँमा समायोजित भएको महासंघले जनाएको छ।

यस्तै चाँदीको मूल्य पनि आज ११० रुपैयाँले घटेको छ। प्रतितोला ५ हजार २० रुपैयाँ तय गरिएको चाँदी अघिल्लो दिन ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो। गत बिहीबार भने यसको मूल्य प्रतितोला ५ हजार २८० रुपैयाँ रहेको थियो।

एकैरातमा १२२ जना पक्राउ

पोखरा । पोखराका विभिन्न स्थानमा बुधबार रातिदेखि प्रहरीको असाधारण सक्रियता देखियो। काहुँडाँडा, लम्भीडाँडा, रामबजार, लेखनाथ क्षेत्रका तालछेउ, लेकसाइड, महतगौंडा र दोबिल्लालगायत क्षेत्रमा रातभर सोधपुछ, पक्राउ र भ्यानमा हालेर लैजाने गतिविधि तीव्र रूपमा चल्यो। लगभग १० घन्टा चलेको यस घटनाले स्थानीयलाई सुरुमा अचम्मित बनायो।

पछि थाहा भयो-जिल्ला प्रहरी कार्यालय कास्कीले ‘स्वीप अपरेसन’ नामक विशेष अभियान सञ्चालन गरेको रहेछ। टोले गुण्डागर्दी, लागुऔषध ओसारपसार/प्रयोग, समाजमा अवाञ्छित गतिविधि र आतंक फैलाउने समूहलाई नियन्त्रणमा लिन प्रहरीले यस्तो अभियान चलाएको हो। एकै रातमा १२२ जनालाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए।

उनका अनुसार बुधबार राति ९ बजेदेखि बिहीबार बिहान ५ बजेसम्म करिब १०० जनाको प्रहरी टोली परिचालन गरिएको थियो। 

नयाँ वर्ष २०८३ सुरू भएदेखि कास्की प्रहरीले एकै रातमा यति ठूलो संख्यामा पक्राउ गरेको यो पहिलो मौका हो। यसअघि नयाँ वर्षको दिन २२ जना पक्राउ परेका थिए, जसमा १० जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। ४ जनालाई मानव बेचबिखन र ६ जनालाई अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार समातिएका व्यक्तिहरूको पृष्ठभूमि र गतिविधिबारे थप अनुसन्धान जारी छ। पोखरामा लागुऔषध प्रयोगकर्ता तथा कारोबार बढ्दै जानु र ‘जेनजी’ आन्दोलनपछि गुण्डागर्दीसम्बन्धी गुनासो बढेपछि यस्तो व्यापक अपरेसन सञ्चालन गरिएको बताईएको छ।

इसराइलको आक्रमणमा पत्रकारको मृत्यु

काठमाडौं। युद्धविराम जारी रहँदासमेत इजराइलले लेबननमा आक्रमण गरेको घटनामा एक पत्रकारको ज्यान गएको छ। इसराइल–लेबनन सीमावर्ती अल तायरी क्षेत्रमा रिपोर्टिङ गरिरहेकी ४३ वर्षीया पत्रकार अमल खलिलको मृत्यु भएको हो ।

उनीसँगै रहेकी फोटो पत्रकार जैनब फराज घाइते भएकी छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार घटनास्थलमा रिपोर्टिङ गरिरहेका बेला उनीहरू सवार गाडीको अगाडि रहेको अर्को सवारी साधनमा आक्रमण गरिएको थियो। त्यसपछि उनीहरू नजिकैको घरमा आश्रय लिन पुगेका थिए। तर सोही घरमा पुनः आक्रमण हुँदा खलिलको ज्यान गएको बताइएको छ।

घटनापछि उद्धार टोली घटनास्थल पुग्ने प्रयासमा रहे पनि आक्रमण जारी राखेर अवरोध गरिएको आरोप लगाइएको छ। लेबननका पत्रकार संघकी प्रमुख एल्सी मौफार्रेज तथा सैन्य अधिकारीका अनुसार उद्धारकर्मीलाई रोक्न ध्वनि ग्रेनेड प्रहार गरिएको थियो, जसका कारण तत्काल उद्धार सम्भव हुन सकेन। करिब सात घण्टापछि मात्रै खलिलको शव भग्नावशेषबाट निकालिएको जनाइएको छ।

लेबननका प्रधानमन्त्री नवाफ सलामले पत्रकारमाथि भएको आक्रमण र उद्धार कार्यमा अवरोध पुर्‍याउनु युद्ध अपराध भएको टिप्पणी गर्दै यसबारे अन्तर्राष्ट्रिय निकायमा पहल गर्ने बताएका छन्।

यद्यपि, इसरायली सेनाले उद्धार टोलीलाई अवरोध गरेको आरोप अस्वीकार गरेको छ। सेनाले दुई वटा सवारी साधन हिजबुल्लाहसँग सम्बन्धित सैन्य संरचनाबाट निस्केर आफ्ना सैनिकतर्फ बढेको भन्दै सुरक्षा जोखिमका आधारमा आक्रमण गरिएको दाबी गरेको छ। साथै, आफूहरूले पत्रकारलाई लक्षित नगरेको पनि जनाएको छ।

बुधबारको उक्त आक्रमणमा कुल पाँच जनाको मृत्यु भएको लेबननको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मार्चदेखि सुरु भएको द्वन्द्वमा हालसम्म २,४०० भन्दा बढी मानिसको ज्यान गएको बताइएको छ।

इसराइलले आफ्नो उत्तरी क्षेत्रलाई हिजबुल्लाहका आक्रमणबाट जोगाउन भन्दै सीमावर्ती क्षेत्रमा ‘बफर जोन’ कायम गरिरहेको छ। तर यस्ता आक्रमणले युद्धविरामको प्रभावकारितामाथि प्रश्न उठाएको छ र क्षेत्रीय तनाव झन् बढ्ने संकेत देखिएको छ। दुई देशबीच मार्च १६ मा दस दिनका लागि युद्धविराम घोषणा गरिएको थियो।

रविविरुद्धको मुद्दा : सर्वोच्चमा पूर्ण इजलास गठन

काठमाडौं। रवि लामिछानेमाथि लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले पूर्ण इजलास गठन गरेको छ।

न्यायाधीशहरू नृपध्वज निरौला, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेल सम्मिलित इजलासले उक्त रिटमाथि सुनुवाइ गर्नेछ।

यसअघि न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो।

गत पुस ३० गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध यसअघि लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णय गरेको थियो। महान्यायाधिवक्ता सविता भण्डारीले उक्त निर्णय गरेकी थिइन्।

उक्त निर्णयविरुद्ध अधिवक्ताहरू दिनेश त्रिपाठी, युवराज सफललगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। रिटमा महान्यायाधिवक्ता कार्यालय, विभिन्न सरकारी वकिल कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाइएको छ।

रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग कमजोर नबनाउन माग गर्दै परमादेश जारी गर्न आग्रह गरेका छन्। साथै, मुद्दाको अन्तिम निर्णय नभएसम्म उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको समेत माग गरिएको छ।

यसअघि लामिछानेले आफूमाथि लगाइएका केही अभियोग फिर्ता लिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए, जसपछि अभियोग संशोधन गर्ने निर्णय गरिएको थियो।

बालेन हटाउँदै सुकुम्बासी बस्ती, के रवि छातीमा गोली थाप्न तयार हो ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले थापाथलीका सुकुम्बासी बस्ती शनिबार–आइतबारसम्ममा हटाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई बोलाएर जसरी भए पनि सुकुम्बासी बस्ती खाली गर्न बुधबार निर्देशन दिएको खुलेको हो ।

काठमाडौंका प्रमुख हुँदा पनि त्यहाँको सुकुम्बासी बस्ती खाली गर्न पटकपटक डोजर पठाएका थिए । महानगर प्रहरी र सुकुम्बासीहरूबीच धक्कामुक्का भएको थियो । सुकुम्बासीहरूले टायर बालेर बालेनको विरोध गरेका थिए ।

हाल प्रधानमन्त्री रहेका उनले बुधबार भने सुकुम्बासी बस्तीलाई हटाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएको खबरले हंगामा मच्चिएको छ ।

सुकुम्बासी बस्ती हटाउने उनको कदमका चौतर्फी आलोचना भएको छ । एमाले सचिव महेश बस्नेतदेखि जेन–जी अभियन्ता रक्षा बमलगायतले कडा शब्दमा बालेन सरकारप्रति प्रतिक्रिया जनाएका छन् । बालेन सरकारलाई ‘गरिबमारा’ भनेका छन् ।

जबकि, गत २१ फागुनमा भएको निर्वाचन अभियानका बेला भने बालेनले सुकुम्बासी बस्तीलाई बागमती नदीको बाढीले बगाउन सक्ने भन्दै जोगाउन खोजिएको रणनीतिक जवाफ दिएका थिए ।

उनका सभापति रवि लामिछानेले बालेन सरकार बन्दा सुकुम्बासी बस्तीमा डोजर नचल्ने र यदि चले आफू छाती थाप्न तयार हुने बताएका थिए ।

तर, सरकार गठन भएको एक महिना पनि नपुग्दै सुकुम्बासी बस्ती बल प्रयोग गरेर हटाउन बालेन कस्सिएका हुन् ।

मध्यमवर्गको समर्थन प्राप्त बालेन सरकारले गरिब, श्रमजीवी र मजदुरहरूमाथि अत्याचार गर्ने भन्दै तीब्र आलोचना भइरहेको छ ।

बालेनलाई एमाले सचिव महेशको प्रश्न- गरिब हटाउने कि गरिबी ?

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सुकुम्बासी बस्ती हटाउने बालेन सरकारको निर्णयको विरोध जनाएका छन्।

बस्नेतले सरकारको कदमप्रति असन्तुष्टि व्यक्त गर्दै ‘गरिबविरोधी नीति’ को संज्ञा दिएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा प्रमुखलाई बोलाएर शनिबार-आइतबारभित्र अतिक्रमित बस्ती खाली गराउन निर्देशन दिएको विषय सार्वजनिक भएपछि बस्नेतले उक्त कदमको विरोध गरेका हुन्।

उनले आफ्नो स्टाटसमा लेखेका छन्, ‘सुकुम्बासीलाई लखेट्ने होइन, व्यवस्थित गर्ने हो। गरिबी हटाउने नाममा गरिबलाई नै समाप्त पार्ने नीति स्वीकार्य हुँदैन।’

बस्नेतले विगतमा रास्वपा सभापति रवि लामिछानेले दिएको अभिव्यक्तिलाई स्मरण गराउँदै अहिलेको निर्णयसँग तुलना गरेका छन्। उनले उल्लेख गरेका छन्, ‘उनकै दलका सभापति रवि लामिछानेले सुकुम्बासी बस्तीमा डोजर आयो भने म छाती थाप्छु’ भनेर ठूलो भाषण दिनुहुन्थ्यो। आज त्यो प्रतिबद्धता कहाँ गयो ? जनतालाई भ्रममा राख्ने भाषण मात्रै हो त ?हिजो ‘डोजर आयो भने छाती थाप्छु’ भन्नेहरू आज किन मौन छन्? जनतालाई भ्रममा राख्ने भाषण मात्रै हो त?’

बस्नेतले सरकारका अन्य नीतिहरूको पनि आलोचना गरेका छन्। उनले लेखेका छन्, ‘सडक चौडा र फुटपाथ सफा गर्ने नाममा साना व्यवसायीमाथि डोजर चलाउने, भन्सारमा कडाइ गरेर गरिबको दाल-चामल खोस्ने, यो प्रगति होइन, गरिबमाथिको हमला हो।’

उनले थपेका छन्, ‘यस्ता जनविरोधी र गरिबमारा निर्णयले सरकारको असली चरित्र उजागर भएको छ। जनता चुप लागेर बस्ने छैनन्, धैर्यको सीमा हुन्छ।’

बस्नेतको यो अभिव्यक्तिपछि सुकुम्बासी व्यवस्थापनको विषय पुनः राजनीतिक बहसको केन्द्रमा आएको छ।

एकातर्फ सरकार शहरी व्यवस्थापन र कानुनी शासन कायम गर्ने दाबी गरिरहेको छ भने अर्कोतर्फ विपक्षी दलहरूले यसलाई जनविरोधी कदम भन्दै आलोचना तीव्र बनाएका छन्।

प्रफुल्लित हर्क साम्पाङ, ‘ह्याक’ भएको फेसबुक पेज पुनः नियन्त्रणमा

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ आफ्नो फेसबुक पेज ‘हर्क साम्पाङ अ रिभोलुसन’ नियन्त्रणमा लिन सफल भएका छन् ।

उनको यो फेसबुक पेज केही दिनअघि ‘ह्याक्ड’ भएको थियो । उक्त पेज बिहीबार बिहानै नियन्त्रणमा लिन सफल भएपछि साम्पाङले प्रफुल्लित भएको झल्किने ‘इमोजी’ राखेका छन् ।

अर्को स्टाटसमा उनले ‘विरोधीहरूलाई हार्दिक धन्यवाद’ लेखेका छन् ।

१४ लाख फलोअर्स भएको साम्पाङको फेसबुक पेज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई यलम्बर अन्तर्राष्ट्रिय विमानस्थल लेखेको केही घण्टामै ह्याक्ड भएको थियो ।

आफ्नो लाखौँ फलोअर्स भएको फेसबुक पेजमा नियन्त्रण गुमाएपछि सोही नामको अर्को पेज खोलेर आफ्ना धारणा राख्दै आएका थिए ।

खासगरी बालेन्द्र शाह (बालेन) सरकारले आफ्ना १२ वटा राष्ट्रिय प्रतिबद्धतामा गणतन्त्र स्थापनापछि नामकरण गरिएको पूर्व–पश्चिम राजमार्गलाई महेन्द्र राजमार्ग भनेर पुनःस्थापित गरेपछि प्रतिक्रियामा साम्पाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई यलम्बर अन्तर्राष्ट्रिय विमानस्थल लेखेका थिए ।

कतिपयले उनको विरोध गरेका थिए । त्यहीबीच उनले आफ्नो फेसबुक पेजमा नियन्त्रण गुमाएका थिए ।

 

पाँचथरमा ढुंगाले हानेर हत्या, एक जना पक्राउ

काठमाडौं । सामान्य विवाद हुँदा ढुंगाले हानेर पाँचथरमा एक जनाको हत्या भएको छ ।

जिल्लाको हिलिहाङ गाउँपालिका वडा नम्बर–६ भारपाका ५२ वर्षीय धनप्रसाद यवाको हत्या भएको हो ।

हत्या आरोपमा सोही गाउँपालिकाको वडा नम्बर–७ भारपाकै ५४ वर्षीय हरिचन्द्र यक्पाहाङ्देनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी अनिशकुमार कर्णले यक्पाहाङ्देनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए ।

‘सामान्य विवाद हुँदा ढुंगाले हानेर मारेको भन्ने छ र थप अनुसन्धान गरिरहेका छौँ,’ उनले भने ।

यक्पाहाङदेनलाई बिहीबार अदालतमा पेस गरेर म्याद थप अनुमति लिने तयारी प्रहरीको छ ।

तम्घासको फोहोर धमाधम बिक्री हुँदै, किलोको कति ?

गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ । नगर विकास तथा वातावरण सरसफाइ समितिले तम्घासमा उठाएकामध्ये नकुहिने फोहोर पाल्पा नेप्लिज वेष्ट बैङ्कलाई बिक्री गर्न थालेको हो ।

सम्झौताअनुसार प्लास्टिकका बोतल प्रतिकेजी रु १०, रेडबुलका बोतल प्रतिकेजी रु ८०, एचडिपी प्लास्टिक प्रतिकेजी रु आठ, पानीका बोतल प्रतिकेजी रु १०, फलाम प्रतिकेजी रु १५, सिसा प्रतिकेजी रु एक तथा टिन प्रतिकेजी रु पाँचमा बिक्री हुन थालेको हो । नगर विकास तथा वातावरण संरक्षण संस्थाले रेसुङ्गा नगरपालिकाका–१, २, ७, ८, ९ र ४ को केही भागका एक हजार ७६५ घरबाट फोहोर सङ्कलन गर्छ ।

दुई वटा ट्याक्टर, दुई जना चालक र दुई जना सहचालक राखेको समितिले शनिबार बाहेक साताको छ दिन बजारबाट फोहोर उठाएर फोहोर फाल्ने ठाउँ ओख्रेनीमा फाल्ने गर्दछ । कुहिने र नकुहिने गरी भान्साको फोहोर दैनिक दुई टन सङ्कलन हुने समितिले जनाएको छ । उक्त फोहोर छुट्याउन बैंकले तीन जना मजदुर राखेको छ । उनीहरूलाई फोहोरको मात्राअनुसार बैंकले भुक्तानी गर्छ । एक महिनामा गुल्मीबाट चार ट्रक फोहोर बिक्रीबाट समितिले रु २० हजार आम्दानी गरेको अध्यक्ष रामप्रसाद पन्थीले जानकारी दिए ।

कुन राशीको कस्तो फल ? हेर्नुहोस् आजको राशीफल

वि.सं.२०८३ साल वैशाख १० गते । बिहीबार । 

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

छोटो दूरीको रमाइलो यात्रा हुनेछ। अध्ययनका कारण पनि यात्रा पर्न सक्छ। लामो समयपछि आफन्त–मित्रसँग भेट हुँदा मन खुशी हुनेछ। खाद्यान्न, गरगहना वा निर्माण सामाग्री व्यापारबाट राम्रो धन लाभ प्राप्त हुनेछ। प्रेम सम्बन्धमा अनुकूलता रहनेछ, र जीवनसाथीको सहयोगले नयाँ काम सुरु गर्न सकिनेछ। बैंक, वित्तीय क्षेत्र वा शेयर बजारमा गरिएको लगानी लाभदायक हुनेछ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

समयअनुसार सिर्जनात्मक विचार उत्पन्न हुने भएकाले धेरैको मन जित्न सकिनेछ। आफन्तसँग मिलेर सुरु गरिएको काम सफलतापूर्वक अघि बढ्नेछ, आर्थिक सुधार हुनेछ। प्रेम जीवनमा रोमाञ्च बढ्नेछ। गीत–संगीत तथा मोडलिङ क्षेत्रमा अपेक्षित आम्दानी हुनेछ। सबैको सहयोग पाउने भएकाले प्रतिष्ठित काम गर्ने अवसर बढ्नेछ। बोलचालसँग सम्बन्धित पेशा–व्यवसाय फस्टाएर जानेछ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

पुराना कामबाट लाभ पाउने समय आएको छ। व्यापार र शेयर बजारबाट राम्रो नाफा हुनेछ। समयको सदुपयोग गर्दै सृजनात्मक काम गरी सामाजिक प्रतिष्ठा बढाउन सकिनेछ। साथीहरूबाट सहयोग मिल्नेछ। प्रेम जीवनमा अनुकूलता रहँदा नयाँ प्रस्ताव पनि आउन सक्छ। विद्यार्थीहरूले पढाइमा राम्रो प्रगति देखाउनेछन्।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

धार्मिक तथा सामाजिक कार्यमा व्यस्त रहने दिन। आम्दानीका स्रोत सक्रिय हुने भएकाले खर्च सहजै धान्न सकिनेछ र केही बचत पनि बन्नेछ। पढाइमा समय दिएमा राम्रो परिणाम हात लाग्नेछ। प्रेममा एकअर्कालाई बुझ्न केही समय लागे पनि सम्बन्ध मजबुत बन्छ। विदेश यात्रा वा विदेशमा बस्नेहरूका लागि समय प्रभावकारी छ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

पैतृक वा प्राकृतिक स्रोत–साधनको प्रयोगबाट आम्दानी वृद्धि हुनेछ। पारिवारिक इच्छा–आकांक्षा पूरा गर्न सकिनेछ। शिक्षा तथा शेयर बजारबाट लाभ प्राप्त हुनेछ। प्रेम सम्बन्ध बलियो बन्दै जानेछ, जीवनसाथीको सहयोगले काममा सफलता मिल्नेछ। राजनीति वा समाजसेवामा सक्रिय हुनेहरूको समय शुभ छ। खानपान र मनोरञ्जनमा समय बित्नेछ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

पढाइमा मन जानेछ, अध्ययनकै क्रममा यात्रा हुन सक्छ। राज्य संरचनाभित्र बसेर काम गर्ने अवसर आउनेछ। शुभचिन्तकको सल्लाह उपयोगी रहनेछ। व्यापार तथा शेयर बजारको लगानी भविष्यमा राम्रो आम्दानीका रूपमा फिर्ता हुनेछ। प्रेममा भावना साटासाट गर्न अनुकूल समय। नयाँ काम वा जागिरमा बढुवा पाउने सम्भावना छ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

व्यापार तथा शेयर बजारमा गरिएको लगानी भविष्यमा राम्रो नाफा दिनेछ। अनुसन्धान तथा खोज क्षेत्रमा उत्कृष्ट प्रगति हुनेछ। विशिष्ट व्यक्तिसँग नजिकिन पाउने अवसर मिल्नेछ। प्रेमी–प्रेमिकाका लागि रमाइलो यात्राको योग छ। सामाजिक तथा परोपकारी काममा मन जानेछ, धार्मिक वा शैक्षिक यात्रा पनि हुन सक्छ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

नसोचेको धन–सम्पत्ति प्राप्त हुने सम्भावना। आफन्त तथा दिदीबहिनीबाट आर्थिक सहयोग मिल्नेछ। खोजमूलक काममा रुचि बढ्नेछ, पुराना काम सम्पन्न हुनेछन्। पढाइ वा अन्य कामकै कारण देश–विदेश यात्रा हुन सक्छ। मन्दिर तथा धार्मिक स्थलको यात्रा शुभ रहनेछ। समाजसेवा तथा सकारात्मक कार्यबाट प्रतिष्ठा बढ्नेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

लगनशीलता र इमानदारिताले दैनिकीमा सुधार हुनेछ। अध्ययनमा सफलता मिल्नेछ। भौतिक सम्पत्ति वा सवारीसाधनको प्रयोगबाट आर्थिक लाभ हुनेछ। प्रेममा समीपता बढ्नेछ। खानपान, मनोरञ्जन तथा यात्रामा समय खर्च हुनेछ। व्यापारको लगानीबाट राम्रो आम्दानी हुनेछ, व्यापारकै क्रममा लामो यात्रा हुन सक्छ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खू, खे, खो, गा, गी)

प्रतिस्पर्धामा जित प्राप्त हुनेछ। तपाईँका आलोचकहरू पछि हट्नेछन्। न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन्। पुराना ऋण तथा रोगहरूमाथि नियन्त्रण मिल्नेछ। अध्ययनमा अपेक्षाअनुसार सफलता प्राप्त हुनेछ। प्रेम जीवन अनुकूल। व्यापारमा गरिएको लगानीबाट भविष्यमा राम्रो नाफा हुनेछ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

ज्ञान तथा बुद्धिमत्ताको सही प्रयोगले चुनौती हट्दै जानेछन्। बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ। मनपर्ने व्यक्तिबाट उपहार वा सम्पत्ति हात पर्न सक्छ। बैंक तथा वित्तीय पेसाबाट लाभ प्राप्त हुनेछ। सन्तानको सहयोगले काम सफल हुनेछ। शुभ–मंगलमय कार्यक्रममा सहभागिता र स्वादिलो भोजनको अवसर मिल्नेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

भौतिक सम्पत्ति वा सवारी साधन प्राप्त हुने योग। धार्मिक वा सामाजिक क्षेत्रमा राम्रो काम गर्न सकिनेछ, जसबाट सम्मान बढ्नेछ। आमाको सहयोग वा परिवारजनको साथले लक्ष्य हासिल गर्न सजिलो हुनेछ। अध्ययनमा प्रगति हुनेछ, पढाइकै कारण लामो यात्रा हुन सक्छ। नयाँ काम वा नोकरीमा राम्रो स्थानान्तरणको सम्भावना छ।

 

यस्तो छ आज डलरको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५० रुपैयाँ ३८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०३ रुपैयाँ १६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ २० पैसा र बिक्रीदर १०७ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११० रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११८ रुपैयाँ १० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४१ पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ९५ पैसा र बिक्रीदर २२ रुपैयाँ ०४ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४० रुपैयाँ १० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ४१ रुपैयाँ २६ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ७८ पैसा र बिक्रीदर ४० रुपैयाँ ९४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७ रुपैयाँ ०५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रुपैयाँ १७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३३ पैसा र बिक्रीदर १६ रुपैयाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५४ पैसा र बिक्रीदर २३ रुपैयाँ ६३ पैसा तोकिएको छ ।

यसैगरी हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १२ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा, कुवेती दिनार एकको खरिददर ४८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४९० रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३८९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३९० रुपैयाँ ५९ पैसा तोकिएको छ  ।

गुफामा देवताहरू देखाएर बलात्कार, आरोपीद्वारा इन्कार !

काठमाडौं । गुफाभित्र देवीदेवताहरू देखाएपछि एक किशोरीलाई बलात्कार गरेको घटना एक महिनापछि बाहिरिएको छ ।

घटना रोल्पाको हो । गत वर्षको १० चैतमा परीक्षा दिएर घर फर्किँदै गरेकी ती किशोरीलाई एक किशोरले शिव गुफा घुम्न जाउँ भनेको र आफूले नमान्दा नमान्दै कर गरेर गुफामा लगेको बताएकी छन् ।

त्यसपछि त्यहाँ जाँदा गुफाभित्रका देवीदेउवताहरू देखाएको र केहीबेरमा डर त्रास देखाई बलात्कार गरेको भनेकी छन् ।

आफूले प्रतिकार गर्दै हारगुहार गरे पनि आरोपीले नसुनी बलातकार गरेको र घटनापछि कसैलाई जानकारी गराएमा मार्ने धम्की दिएको ती किशोरीको जाहेरीमा उल्लेख गरेकी छन् ।

ती किशोरले भने बलात्कार गरेको आरोप इन्कार गरेका छन् । उनले स्तन मात्रै चलाइदिएको प्रहरीसमक्ष बयान दिएका छन् ।

तर, उनीविरुद्ध प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय रोल्पाले जिल्ला अदालतमा बुधबार बलात्कारसम्बन्धी मुद्दाको आरोपपत्र दायर गरेको छ ।

बालेन सरकारको निर्णय ठाडै अवज्ञा

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको संघीय सकारले विद्यालय सञ्चालन र नयाँ शैक्षिक सत्र सञ्चालनबारे गरेको निर्णयलाई काठमाडौं उपत्यका मेयर्स फोरमले अस्वीकार गरेको छ ।

संघ सरकारको निर्णय संविधानप्रदत्त अधिकार प्रतिकूल भएको भन्दै कार्यान्वयन गर्न अस्वीकार गरेको हो ।

देशका विभिन्न स्थानीय तहले संघ सरकारको निर्णय धमाधम अवज्ञा गर्दै नयाँ शैक्षिक सत्र सञ्चालन गर्न विद्यार्थी भर्ना अभियानलगायतका गतिविधि थाल्दा सोही कित्तामा काठमाडौं उपत्यका मेयर्स फोरम उभिएको हो ।

फोरमका अध्यक्ष रहेका ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बुधबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेनलाई नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को स्मरण गराएका छन् ।

बालेन नेतृत्वको केन्द्र सरकारको मन्त्रिपरिषद् बैठकले २०८३ सालको भर्ना अभियान वैशाख १५ गतेदेखि सुरु गर्ने र पठनपाठन वैशाख २१ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो ।

संविधानमा रहेको स्थानीय तहको अधिकार सूची र स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा आधारभूत तथा माध्यमिक शिक्षासम्बन्धी अधिकार स्थानीय तहमा निहित रहेको भन्दै फोरमले यस विषयमा बालेन सरकारको स्पष्टता आवश्यक रहेको जनाएको छ ।

फोरमले विद्यालय सञ्चालन, व्यवस्थापन, नियमन तथा अनुगमन गर्ने अधिकार स्थानीय तहकै भएको उल्लेख गर्दै शैक्षिक सत्र सुरु हुनुअघि आवश्यक तयारी पूरा नगरी हतारमा विद्यालय सञ्चालन गर्दा गुणस्तरमा असर पर्न सक्ने चेतावनी दिएको छ ।

यसका साथै हालको शैक्षिक तथा प्रशासनिक अवस्थालाई विश्लेषण गर्दै विद्यालय सञ्चालनका लागि पर्याप्त पूर्वाधार, शिक्षक व्यवस्थापन तथा विद्यार्थी भर्ना प्रक्रियामा समन्वय आवश्यक रहेको फोरमले जनाएको छ ।

फोरमले अभिभावक, शिक्षक संघ–संस्था, प्रिन्सिपल्स् एसोसिएसन अफ नेपाललगायत सरोकारवालासँगको छलफलबाट विद्यालय सञ्चालनबारे सुझाव संकलन गरेको जानकारी पनि दिएको छ ।

सुझावका आधारमा विद्यालय सञ्चालन गर्दा सिकाइ उपलब्धि, विद्यार्थीको हित तथा शैक्षिक गुणस्तरलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष फोरमले निकालेको छ ।

त्यसैगरी, फोरमले यस वर्ष विद्यालयहरूमा नयाँ भर्ना अभियान वैशाख ११ गतेदेखि सञ्चालन गर्न र वैशाख १५ गतेभित्र नियमित पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । यस निर्णयअनुसार उपत्यकाभित्रका सबै पालिकाहरूलाई समन्वय गरेर अघि बढ्न आग्रह गरिएको छ ।

सूचनामा वर्तमान इन्धन संकट तथा सम्भावित आपूर्तिजन्य समस्यालाई पनि ध्यान दिनुपर्ने उल्लेख गरिएको छ । यस्तो अवस्थामा विद्यालय सञ्चालनमा अवरोध आउन सक्ने भन्दै वैकल्पिक उपायहरू, जस्तै अनलाइन कक्षा सञ्चालनको तयारी गर्न पनि सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

शैक्षिक सत्रलाई व्यवस्थित, प्रभावकारी र विद्यार्थीमैत्री बनाउने उद्देश्यसहित यस्तो निर्णय गरिएको अध्यक्ष महर्जनले बताए ।

हात काटिएको अवस्थामा प्रहरी जवान फेला, बेहोस अवस्थामा उपचार हुँदै

काठमाडौं । प्रहरी जवान रोशन यादव हात काटिएको अवस्थामा फेला परेका छन् । उनको अवस्था बेहोस् छ ।

उद्धार गरेर उनलाई उपचारका लागि जनकपुर अस्पताल लगिएको छ ।

अहिले प्रहरीको रोहबरमा उनको उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

खाली गरिँदै सुकुम्बासी वस्ती

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आउँदो शनिबार र आइतबार देशभरका अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउने निर्देशन सुरक्षा निकायका प्रमुखहरूलाई दिएका छन्।

आजदेखि गृह मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका प्रधानमन्त्री शाहले साँझ सुरक्षा निकायका शीर्ष अधिकारीहरूसँगको बैठकमा तत्काल काठमाडौँ उपत्यकाबाट अभियान सुरू गर्न आदेश दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

मेयरका रूपमा कार्यरत हुँदाखेरी पनि शाहले काठमाडौँका सुकुम्बासी बस्ती हटाउने पहल गरेका थिए। तर त्यतिबेला ती बस्तीका बासिन्दाले गरेको कडा प्रतिरोधका कारण अभियान सफल हुन सकेको थिएन।

तीन दिदीबहिनीसँगै ४ जना पक्राउ, यस्तो छ कारण

कपिलवस्तु। अवैध लागूऔषध चरेससहित तीन दिदीबहिनी र एक पुरुष गरी चार जना पक्राउ परेका छन्।

सीमावर्ती बजार कृष्णनगर बसपार्कबाट बागलुङ निसीखोला गाउँपालिका-६ की ३७ वर्षीया मनीषा घर्तीमगर, ३७ वर्षीया दिलकुमारी घर्तीमगर र रुकुमपूर्व भूमे गाउँपालिका-१ की ४० वर्षीया दिलकुमारी घर्तीमगरको साथबाट १४ केजी ४२७ ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिए। यी तीनै जना एउटै आमाबुवाका छोरीसमेत भएको प्रहरीले पुष्टि गरेको छ।

तीन महिलासँगै रहेका बागलुङ निसीखोला-६ का ३४ वर्षीय नकुल घर्तीमगर पनि पक्राउ परेका छन्। उनको साथबाट कुनै सामग्री नसमातिए पनि घटनास्थलमा उनीहरूकै साथमा भएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मंगलबार साँझ करिब ७ बजेतिर भारततर्फ जाँदै गर्दा कृष्णनगर बसपार्क नजिकै उनीहरू सीमाबाट करिब २०० मिटर दूरीमै पक्राउ परेका हुन्। गर्मी बढेकाले चरेसको गन्ध बाहिर आएको शंका लागेपछि प्रहरीको चेकजाँचमा ठूलो परिमाणमा चरेस फेला परेको हो। पक्राउ परेकाहरूलाई बुधबार अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

राजीनामा दिए लगत्तै रवि भेट्न पुगे सुधन

काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएपछि सुधन गुरुङ मन्त्रालयबाट निस्कनासाथै रास्वपा सभापति रवि लामिछानेलाई भेट्न उनको निवास पुगेका छन्।

रास्वपा स्रोतअनुसार लामिछानेले बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी गुरुङलाई मन्त्री पदबाट हटाउन पार्टीको औपचारिक निर्देशन पत्र बुझाएका थिए। तर प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्ने निर्णय नगरी गुरुङलाई बोलाएर राजीनामा दिन सुझाएको बताइन्छ।

लामिछानेको घरमा पुगेका गुरुङले आफूलाई हटाउन तयार गरिएको निर्देशन पत्रको आधार र कारणबारे कडा शैलीमा स्पष्टिकरण माग गरेको स्रोतले जनाएको छ।

फेरि सार्वजनिक सवारीको भाडा बढाउने सरकारको तयारी

काठमाडौँ । बजारमा महँगी निरन्तर बढिरहेकै समयमा सरकारले सार्वजनिक यातायातको भाडा फेरि समायोजन गर्ने तयारी थालेको छ। पछिल्ला केही महिनामा डिजेलको मूल्य करिब ५५ रुपैयाँ प्रतिलिटरले उक्लिँदा पनि भाडा समायोजन नगरेको व्यवसायीहरूको लगातार गुनासोपछि सरकार सक्रिय बनेको हो।

यातायात व्यवस्था विभागले अन्तरप्रदेश रूटमा चल्ने बस तथा मालवाहक सवारी साधनको भाडा बढाउने प्रस्ताव तयार पारेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अन्तिम निर्णयका लागि पठाइसकेको छ।

विभागको नयाँ प्रस्तावअनुसार यात्रुवाहक बसको भाडा ९.८ प्रतिशत र मालढुवानी गर्ने ट्रक तथा अन्य सवारीको भाडा अधिकतम १३ प्रतिशतसम्म बढाउन सिफारिस गरिएको छ। मन्त्रालयले आवश्यक ठानेमा यस दरमा केही परिमार्जन गर्न सक्ने उल्लेख गरिएको छ।

थुरुरु पार्ने गृहमन्त्री सुधन गुरुङ राजीनामा दिएर लुरुलुरु

काठमाडौं । फिल्मी शैलीमा ‘राजनीतिक हिरो’ बनेका गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई राजीनामा थमाएर हिँडेका छन् । ज्वाला सङ्ग्रौलासहित केही रास्वपा सांसदले गृहमन्त्रीमा उनको पुनरावगमन हुने बताएका छन् । यो सम्भावना भने अत्यन्त न्यून छ ।

आरोपको छानबिन गर्न समिति गठन भएको भए र समितिले आरोपमा गुरुङलाई सफाई दिएको भए फेरि गृहमन्त्री हुन सक्थे । तर, प्रधानमन्त्री बालेन र उनको दल रास्वपाका सभापति रवि लामिछानेको दबाबमा राजीनामा दिएको हुनाले त्यो सम्भावना कमजोर बनेको हो ।

राजीनामा दिन सुधन बाध्य हुनुमा दुई कारण रह्यो । पहिलो– जेन–जी विद्रोह र २१ फागुनको जनादेश । दोस्रो– दीपक साहको श्रममन्त्रीबाट बहिर्गमन ।

गत वर्षको भदौ २३ र २४ गते भएको जेन–जी विद्रोहको स्पष्ट जनादेश हो– सुशासन र पारदर्शीता । भ्रष्टाचार नियन्त्रण र नातावादको अन्त्य । यही एजेण्डाधारी दल रास्वपाले गत निर्वाचनमा अभूतपूर्व मतादेश पायो । त्यो मतादेश जेन–जी विद्रोहको जनादेशले सम्भव भयो ।

सोही जनादेशको जगमा गत वर्षको १३ चैतमा बालेन्द्र शाह (बालेन) नेतृत्वमा सरकार बन्यो । बालेन सरकारको सुरक्षा मामिला प्रमुखको रूपमा सुधन गृहमन्त्री बने । जेन–जी विद्रोहअघि अत्तोपत्तो नभएका र विद्रोहमा पानी बाँड्ने भूमिकामा देखिएका गुरुङ यति शक्तिशाली मन्त्री बन्नु नै फिल्मी शैलीको राजनीतिक दृश्य थियो ।

अन्ततः सोही दिन साँझ बसेको मन्त्रिपरिषद् बैठकले ‘बोल्ड’ निर्णय लियो । हाइप्रोफाइल व्यक्तिहरूलाई पक्राउ गर्ने । निशानामा परे– जेन–जी विद्रोहको बेला प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रहेका रमेश लेखक । भुइँमा उज्यालो राम्ररी नखस्दै ‘आयो गोर्खाली’ भन्दै हाइप्रोफाइल नेताहरूलाई ‘कर्‍यापझ्याप’ पारेपछि उनी लेख्थे– गुड मर्निङ नेपाल । नेता र व्यवसायी पक्राउको शृङ्खला लामै गयो । उनले ११ जनासम्म काउन्टडाउन गरे ।

उनको हाइहाइ भयो । कर्मचारीतन्त्र थर्कमान भयो । सुरक्षा निकायका अधिकारीहरू हायलकायल भए । ३५ वर्षसम्म पालैपालो सत्तामा रहेका कांग्रेस, एमाले र हालको नेकपाका भ्रष्टाचार आरोपी नेताहरू थरथर नै भए । काम नगर्ने ठेकेदारहरूले झस्किए । आक्रमक पक्राउ अभियानलाई सुशासन र भ्रष्टाचार नियन्त्रणको कदमको रूपमा व्याख्या गरियो ।

तर, जतिबेला उनले चढेको रातो गाडी व्यापारीको भन्ने फेला पर्‍यो । पोखराको फेवाताल अतिक्रमण गरेर बनाएका संरचना उनको पनि भएको खुल्यो । अझ जग्गाधनीलाई भाडा नदिएको सार्वजनिक भयो । आलोचित हुन थाले । सम्पत्ति विवरण त चकित पार्नेगरीको आयो । बालेन सरकारका सबैभन्दा धनी मन्त्री भए ।

स्वयंसेवी भनिएको संदिग्ध ‘हामी नेपाल’ संस्था चलाएका उनको सम्पत्तिको स्रोत प्रष्ट थिएन । त्यो अपारदर्शी थियो । जुन जेन–जी विद्रोह र चुनावको जनादेशविपरीत थियो ।

रास्वपा र गृहमन्त्री गुरुङमाथि प्रश्न उठ्यो । यसबीचमा उनले दुई बीमा कम्पनीमा ५० लाख बढीको शेयर लगानी गरेको सम्पत्ति विवरणमा उल्लेख नगरेको प्रमाण सार्वजनिक भयो । शेयर लुकाएको देखियो ।

धनकुटाको साँगुरगढी गाउँपालिकामा पर्ने भेडेटार क्षेत्रमा पनि जग्गा किनेको प्रमाण बाहिरियो । त्यो पनि सम्पत्ति विवरणमा थिएन । गृहमन्त्री गुरुङ पूरापूर अपारदर्शी देखिए । पार्टीभित्र र बाहिरबाट आलोचनाको ग्राफ बढ्यो ।

कांग्रेस, एमाले, श्रम संस्कृति पार्टीले राजीनामा मागे । सामाजिक सञ्जालबाट दबाब बढेको बढेकै भयो । रास्वपाका सभापति लामिछानेदेखि सांसदहरू बोल्न सक्ने नै भएनन् । पार्टी सार्वजनिक छविमा प्रश्न उठ्यो ।

यसबीचमा गृहमन्त्री गुरुङले बूढानीलकण्ठ–सिंहदरबार कुदामारी गरिरहे । उठेका प्रश्नमा स्पष्टीकरण दिए । तर, चित्तबुझ्दो थिएन । यसपछि झनै राजीनाको दबाब बढ्यो । यद्यपि, मंगलबार साँझदेखि राति अबेरसम्म थप हाइप्रोफाइल नेताहरूलाई पक्राउ गर्ने तयारकिा लागि मन्त्रालयमै बैठक बसे ।

बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, गृहसचिव र काठमाडौंका सीडीओ थिए । तर, उनले आफू गृहमन्त्रीबाट नहट्ने भन्दै थप पक्राउ रणनीति बनाएका थिए । राति बैठकबाट निस्किँदा प्रफुल्लित थिए । बुधबार बिहानसम्म केही हाइप्रोफाइल पक्राउ पर्ने कतिपयको अड्कल थियो । तर, बुधबार दिउँसो उनको राजीनामा आयो । पारदर्शीताको प्रश्नसामु उनी झुक्नुपर्‍यो ।

उनी राजीनामा दिन बाध्य हुनुमा अर्को कारण भनेको दीपक साह नातावादको आरोप लागे लगत्तै श्रममन्त्रीबाट हटाइनु हो । बालेन र रविले स्पष्टीकरणको मौकासमेत उनलाई दिएनन् । एकै झट्कामा उनको मन्त्री पद चट् भयो । राइट टु रिकल नीतिअनुसार उनी फिर्ता बोलाइए ।

तर, गृहमन्त्री गुरुङविरुद्ध साहलाई जस्तो तत्काल फिर्ता बोलाइएन । त्यो हिम्मत रवि–बालेनले गरेनन् । बाह्य दबाब थेग्न नसकेपछि मार्ग प्रशस्त गर्न सुझाए । यस्तोमा गुरुङलाई राजीनामा दिन कर लाग्यो ।

प्रधानमन्त्री बालेन सरकार गठन भएको एक महिना नबित्दै आफ्ना दुई मन्त्री गम्भीर विवादमा फसेर सत्ताबाट बहिगर्मनमा परेपछि नैतिक संकटमा फसेका छन् । विगतमा अरुप्रति ठढ्याउने औँला आफैंतिर सोझिएको छ । यसले बालेन सरकार थप अप्ठेरोमा परेको छ ।

कसुर नठहरिने प्रसूति हिंसाको तथ्यांक डरलाग्दो

काठमाडौं। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक प्रसूति सेवाको व्यवस्था गरेको भए पनि गर्भावस्थाका महिलाहरु दुर्व्यवहार र हिंसाको शिकार बन्नु परेको एक अध्ययनले देखाएको छ ।

महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले गरेकाे ‘नेपालमा गर्भावस्था, प्रसव र प्रसवोत्तर महिलाहरुले भोगेका दुर्व्यवहार, हिंसा र अधिकार उल्लंघनसम्बन्धी तथ्य अन्वेषण अध्ययन’मा यस्तो देखिएको हो ।

एफडब्लुएलडीका अधिवक्ता दिपेश श्रेष्ठले प्रस्तुत गरेको तथ्य अन्वेषण अध्ययनमा गर्भवती, प्रसव र प्रसवोत्तर अवस्थाका एकतिहाइ भन्दा बढी महिलाहरुले हिंसा भोग्नुपरेको बताइएको छ । धेरैजसो गृहणी हिंसाको शिकार बनेको, परिवारका सदस्य, नातेदार, छिमेकी र श्रीमान् पीडक भएको, उल्लेख्यमात्रामा सेवा प्रदायकले पनि हिंसा गरेको पाइएको छ ।

यसैगरी भावनात्मक हिंसा, शारीरिक हिंसा र यौंन हिंसाहरुमध्ये भावनात्मक हिंसा एकतिहाइभन्दा बढी हुने गरेको पाइएको छ भने ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रका महिलामा बढी हिंसा भएको, मधेशका गर्भवती महिला र सुदूरपश्चिमका प्रसव र प्रसवोत्तरका महिलाहरुले बढी भावनात्मक हिंसा भोग्नुपरेको तथ्य अन्वेषणले देखाउँछ ।

नेपालमा गर्भावस्था, प्रसव र सुत्केरी अवस्थामा महिलाहरुले भोग्नु परेका विभिन्न प्रकारका दुर्व्यवहार, हिंसा र अधिकार उल्लंघनहरुको प्रकृति पहिचान र विस्तृत रुपमा दस्तावेजीकरण गर्न र गर्भधारण, प्रसव र सुत्केरी अवस्थामा आत्मसम्मानपूर्वक उपभोग गर्न पाउने अवस्थाको सिर्जना गर्न कानुन तथा नीति, योजना र कार्यक्रमलाई सुधार र परिमार्जन गर्न सहयोग पुर्‍याउने उद्देश्यले तथ्य अन्वेषण गरिएको एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठको भनाइ छ ।

महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा बसोबास गर्ने ५६० गर्भवती, ५६० प्रसव र ५६० प्रसवोत्तरका १ हजार ६ सय ८० महिलामा तथ्य अन्वेषण गरिएको थियो ।

प्रस्तोता अधिवक्ता श्रेष्ठका अनुसार ७ वटा प्रदेशका १४ जिल्लाका २८ वटा पालिकामा अध्ययन गरिएको थियो । प्रत्येक पालिकाबाट ६० महिला (२० गर्भवती, ४२ दिनभित्रका २० सुत्केरी र ३ महिनाभित्रका २० सुत्केरी) महिलालाई अध्ययनमा संलग्न गराइएको थियो ।

३८ दशमलब ४ प्रतिशत गर्भवती, ३७ दशमलब ९ प्रतिशत प्रसव र ३५ दशमबल ९ प्रतिशत महिलाले हिंसा भोग्नु परेको तथ्यांकले देखाउँछ । यसैगरी ३० दशमलब ७ प्रतिशत गर्भवती, ३२ दशमलब ७ प्रतिशत प्रसव र ३० प्रतिशत प्रसवोत्तर महिलाले भावनात्मक हिंसा भोग्नु परेको थियो ।

यस्तै ४ दशमलब ५ प्रतिशत गर्भवती, ३ दशमलब २ प्रतिशत प्रसव र ४ दशमलब ५ प्रतिशत प्रसवोत्तर महिलाले शारीरिक हिंसा र १६ दशमलब १ प्रतिशत गर्भवती, ९ दशमलब ५ प्रतिशत प्रसव र १६ दशमलब ४ प्रतिशत प्रसवोत्तर महिलाले यौन हिंसा भोग्नु परेको तथ्यांकमा देखाइएको छ ।

गर्भवती, प्रसव र प्रसवोत्तर हिंसा गर्नेमा परिवारका सदस्य र नातेदार सबैभन्दा अगाडि देखिन्छन् । ६० प्रतिशत गर्भवती, ६४ दशमलब ४ प्रतिशत प्रसव र ७१ प्रतिशत प्रसवोत्तर महिलामाथि परिवारका सदस्य र नातेदारबाट हिंसा हुने गरेको पाइएको छ । यसैगरी ५२ दशमलब १ प्रतिशत गर्भवती, ४४ दशमलब ९ प्रतिशत प्रसव र ४७ दशमलब ४७ दशमलब ८ प्रतिशत प्रसवोत्तर महिलामाथि श्रीमानले हिंसा गरेको पाइयो ।
यसैगरी २६ प्रतिशत गर्भवती, २२ दशमलब ७ प्रतिशत प्रसव र १३ दशमबल ४ प्रतिशत प्रसवोत्तर महिलामाथि सेवा प्रदायकबाट हिंसा हुने गरेको तथ्यांकले देखाउँछ ।
कोशी प्रदेशको संखुवासभा र मोरङ, मधेश प्रदेशको सिराहा र धनुषा, बागमति प्रदेशको काठमाडौं र मकवानपुर, गण्डकी प्रदेशको लमजुङ र कास्की, लुम्बिनी प्रदेशको कपिलवस्तु र दाङ, कर्णाली प्रदेशको मुगु र सुर्खेत र सुदुरपश्चिमको कैलाली र डडेल्धुरा जिल्लाको पालिकालाई अध्ययन क्षेत्र बनाइएको थियो ।

अध्ययन अघि नेपाल हेल्थ रिसर्च काउन्सिलबाट अनुमति लिइएको थियो । त्यसपछि ह्वाइट रिबन एलाइन्सको मान्यताअनुरुप सम्मानजनक मातृत्व हेरचाहका सात सिद्धान्तलाई केन्द्रविन्दुमा राखेर प्रश्नावली तयार पारिएको थियो । अधिवक्ता श्रेष्ठका अनुसार तालिमप्राप्त जनशक्तिमार्फत् अध्ययन कार्य सम्पन्न गरिएको हो ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ दफा ६ (२) ले नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको गैरसरकारी तथा निजी स्वास्थ्य संस्थाले सम्मानजक प्रसूति सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ । तर, एफडब्लुएलडीले सार्वजनिक गरेको पछिल्लो तथ्य अन्वेषणले गर्भावस्था, प्रसव र प्रसवोत्तरमा ठूलो संख्या महिलाहरु दुर्व्यवहार र हिंसाका शिकार भएको देखाउँछ ।

यो दुर्व्यवहार र हिंसालाई राज्यले कसुर नदेख्नु दुर्भाग्य भएको एफडब्लुएलडीकी अधिवक्ता राेजिना श्रेष्ठले सञ्चालन गरेको छलफल कार्यक्रममा बताइयो ।

अनुहारमा मुस्कान राखेर कार्यालयबाट निस्किए सुधन गुरुङ (भिडियो)

काठमाडौं।  गृहमन्त्री सुधन गुरुङ राजीनामा लगत्तै बुधबार अनुहारमा मुस्कान राखेर गृह मन्त्रालयबाट बिदा भएका छन्।उनी कर्मचारीहरूसँग संक्षिप्त छलफल गर्दै बिदा भएका हुन्।

विवादित व्यापारी दीपक भट्टसँग उनको कनेक्सन देखिएर विवादमा तानिएसँगै उनी राजीनामा दिन बाध्य भएका हुन् ।

नेकपा र एमालेले यसरी मनाए पार्टी स्थापना दिवस (तस्बिरहरु)

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले छुट्टाछुट्टै कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाएका छन्। 

७७ वर्ष अगाडी स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको सम्झनामा कम्युनिष्ट पार्टीहरुले प्रत्येक वर्ष वैशाक ९ मा स्थापना दीवस मनाउदै आइरहेका छन्। 

विद्यार्थीको सिंहदरबार घेराउ र राँके जुलुसअघि टिक्न सकेनन् गुरुङ

काडमाडौं। विद्यार्थी संगठनलाई चलाउनुको परिणाम स्वरुप  सुधन गुरुङले गृहमन्त्री पदबाट राजिनामा दिनुपरेको भन्दै अहिले सार्वजानिक वृत्तमा बहस सुरु भएको छ।  मंगलबार विद्यार्थी संगठन उर्लेपछि बुधबार गुरुङको एकाएक राजिनामा आएको हो।

चैत १३ गते प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले १०० वटा कामको सूची स्वीकृत गरेको थियो। उक्त सूचीमा सरकारले ६० दिन भित्र विद्यालय र विश्वविद्यालयबाट दलीय संगठन हटाउने कार्यक्रम पनि समावेश थियो। 

बालेन नेतृत्वको सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट दलीय संगठन हटाउने कार्यसूची सार्वजनिक गर्‍यो। 

सरकारले यस्ता दलीय संगठनको वैकल्पिक प्रारूपको रूपमा ९० दिन भित्र गैरदलीय ‘विद्यार्थी काउन्सिल’ वा ‘स्टुडेन्ट भ्वाइस’ जस्ता वैकल्पिक संरचना स्थापना गर्ने योजना बनाएको छ।   

सामाजिक सञ्जालहरूमा धेरैजसो नागरिकले यस कदमलाई स्वागत गरे तापनि विद्यार्थी संगठनहरूले भने असहमति जनाएका छन् । नेविसंघका निवर्तमान अध्यक्ष दुजाङ शेर्पाले आगोको गोलामा हात नहाल्नू, ‘ज्वालाले भष्म बनाउन सक्छ ।’ भनेर चेतावनी दिए। 

एमाले निकट अनेरास्ववियु र माओवादी निकट अखिल क्रान्तिकारीले पनि सरकारी निर्णयको विरोध गरे । तर सरकारले भने शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नु आवश्यक रहेको तर्क गरेको छ । 

नभन्दै सरकारले आफै भष्मासुर हुने काम गर्यो ।  र तत्काल उक्त निर्णय कार्यान्वयन गर्न बालेनले विश्वविद्यालयका  उपकुलपतिहरुको भेला गरे। 

त्यसपश्चात विद्यार्थीहरु सडकमा उत्रिए । विद्यार्थी मात्र हैन सरोकारवाला सबैले सरकारको उक्त निर्णय फिर्ता गर्न माग गरे ।

बालेन-सुधनको बिरोधमा सडक आन्दोलन, राँके जुलुस लगायतका विभिन्न कार्यक्रमपनि तिव्र भयो। सडक देखि सदनसम्म सरकारको उक्त निर्णय फिर्ता गर्न माग भयो।

तथापि सरकारले अटेर गरेपछि  मंगलबार संयुक्त विधार्थी संगठन र स्वतन्त्र विधार्थी युनियन रत्न राज्यलाक्क्ष्मी क्याम्पस (आरआर) ले प्रदर्शनी मार्गमा राँके जुलुस निकाले।

प्रधानमन्त्री शाहले सरकारको विधार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध संयुक्त प्रदर्शन गरे ।

विधार्थी आन्दोलन जिन्दावाद, विधार्थी संगठन खारेज गर्न पाइदैन जस्ता नारासहित जुलुस निकालेका उनीहरुले तत्कालिन गृहमन्त्री गुरुङ र प्रधानमन्त्री शाहको राजिनामा माग गरे।  सरकारले आफ्नो निर्णय फिर्ता नलिए आन्दोलन झनै चर्काउने चेतावनी दिए।

बन्धुकधारीहरुलाई हेल्मेट हालेर विश्वविद्यालयको गेटमा गेटमा पठाएर विचार मार्न खोजेको आरोप लगाए। सरकारलाई लिपुलेक र कालापानीमा जनताले सास्ती भोगिरहेको भन्दै त्यस ठाउँमा बर्दीधारी पठाउन चुनौती समेत दिए।

सम्पूर्ण विद्यार्थी साथीधरुलाई न्यायकालागि आवाज उठाउन समेत समेत गरे।

त्यस्तै,मंगलबार तत्कालिन गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सिंहदरबारभित्रै प्रदर्शन गर्यो । नेविसंघले सिंहदरबारभित्र प्रधानमन्त्रीको कार्यालयअगाडि प्रदर्शन गर्दै गृहमन्त्रीको राजीनामा माग्यो। नत्र सिंहदरबार नै घेराउ गर्ने चेतावनी दियो।

उक्त प्रदर्शनमा नेविसंघका केन्द्रीय सदस्य ईं. भुवन भट्ट, विद्यार्थी नेताहरू कुम्भराज देउवा, नवीन विष्ट, आकाश देवकोटा, सुशील ऐडी र विशाल वि.सी. लगायत पक्राउ परे । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघका नेताहरूलाई पक्राउ गरेकोप्रति आपत्ति जनायो।

विद्यार्थी,दल र नागरिक समाजको चोर औंलो अहिले बालेन सरकार तर्फ सोझियो । जोसिएर आएको सरकारले सबै अन्धाधुन्द प्रतिसोधको डण्डा चलाउन लागेको संकेत प्रारम्भ देखि नै देखिन थालेको टिकाटिप्पणी हुन् थाल्यो ।

दलहरु पनि खरो रुपमा सरकार विरुद्व उत्रे। असहमतिलाई नियन्त्रण गर्ने र दमन गर्ने सरकारको शैली लोकतान्त्रिक  मान्यता एवं संविधानको मर्म विपरीत रहेको कांग्रेसले ठहर गर्यो।

यस्तै,नेकपा एमालेले सरकारको उक्त निर्णयको विराेध बिरोध गर्यो। महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठन खारेज गर्ने निर्णयबाट पछि हट्न ध्यानाकर्षण गराए।

अन्तत: बुधबार गुरुङलेबाट राजीनामा दिए।  प्रधानमन्त्री शाहलाई गुरुङ्ले राजीनामा बुझाए ।विवादित व्यवसायी दीपक भट्टसँगको व्यावसायिक साझेदारी तथा उनले संलग्न रहेको कम्पनीमा गुरुङकै सेयर रहेको तथ्य सार्वजनिक भएपछि गुरुङले राजीनामा दिएका हुन्।

यद्यपि,विद्यार्थी संगठनले विरोधमा सिंहदरबा घेराउ गरेपछि र राँके जुलुसले सडक तताएपछि बालेन गुरुङलाई पदबाट हटाउन बाध्य भएको स्रोतले जनाएको छ।

जनताले चुनेर पठाएको सरकारले जनामर्म अनुरुप काम नगरे प्रधानमन्त्री शाहले पनि गृहमन्त्री गुरुङले झैँ राजीनामा दिनुपर्ने दिन नआउला भन्न नसकिने विश्लेषकहरु बताउँछन्।

मन्त्रालयबाट यसरी बिदा भए सुधन (तस्बिरहरु)

काठमाडौं । राजीनामा दिएर मन्त्रालयबाट यसरी बिदा भए भूतपूर्व गृहमन्त्री सुधन गुरुङ बाहिरिएका छन्। 

विवादित व्यावसायी दीपक भट्टसँगको सेयर साझेदारीमा विवादित बनेपछि उनले बुधबार दिउसो राजीनामा दिएका थिए।

 

ओलीको दुत बनेर बादलको गर्जन : ‘एकताबद्ध बनौँ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले पार्टीका लागि फागुन २१ को निर्वाचन परिणाम अस्वाभाविक रूपमा प्रतिकूल रहेको बताएका छन्।

पार्टी स्थापना दिवसका अवसरमा च्यासलमा आयोजित कार्यक्रममा स्वास्थ्यका कारण उपस्थित हुन नसकेपछि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’मार्फत उनले सन्देश पठाएका हुन्।

ओलीले सन्देशमा भनेका छन्, ‘देशभक्त शक्तिहरूका लागि हाम्रो इतिहासका कतिपय कालखण्ड यस्तै प्रतिकूलताका रहेका छन्, एमालेले त्यसलाई झेलेर यहाँसम्म आएको हो।आज हामीले व्यहोर्नुपरेको असफलताका विषयमा समग्र पार्टीभित्र गम्भीर समीक्षा गर्दै फेरि यस आन्दोलनलाई सफलताको उचाइमा पुर्‍याउनुपर्ने छ। यसका लागि हामी सबै एकताबद्ध हुनु जरुरी छ।’

उनले पार्टीको जीवनमा पटक-पटक चुनौती आएको उल्लेख गर्दै ‘जबज’ (जनताको बहुदलीय जनवाद) लाई आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा लिएको बताए। देशलाई समृद्ध र जनतालाई सुखी बनाउने लक्ष्यप्रति पार्टी प्रतिबद्ध रहेको उनको भनाइ छ।

उनले भनेका छन्, ‘पार्टीले आफ्नो उद्देश्यको झन्डालाई झुक्न दिएन, आफ्नो गन्तव्य बदलेन र समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा पूरा गर्ने सङ्कल्प कहिल्यै छोडेन। आजको समयका चुनौतीलाई हामीले पार्टीलाई एकताबद्ध बनाएर सामना गर्नुपर्ने छ। त्यसका लागि हामी सबैले प्रण गरौँ।’

सुधनको राजीनामा : सेलिब्रेटीहरूले मच्चाए हंगामा

काठमाडौं।  गृहमन्त्री सुदन गुरुङको राजीनामापछि नेपाली मनोरञ्जन क्षेत्रका सेलिब्रेटीहरूले पनि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्न थालेका छन् । यस क्रममा अभिनेत्री वर्षा राउतको एउटा व्यङ्ग्यात्मक पोस्ट विशेष चर्चामा आएको छ ।

राउतले आफ्नो नयाँ फिल्म ‘मालती मंगले’ का अभिनेता विजय बराललाई संकेत गर्दै राजनीतिक शैलीको व्यङ्ग्य प्रस्तुत गरेकी हुन् ।

उनले लेखेकी छिन्,‘दूर-दूरसम्म सम्बन्ध रहेकै आधारमा यसरी मान्छे फस्दै जाने हो भने, जुन हिसाबले विजय बरालले चाउचाउ खान्छन्, कि त कारबाही हुनुपर्यो कि त नैतिकताका आधारमा चाउचाउ खान छोड्नु पर्छ ।’

उनको यो स्टाटसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले हल्का-फुल्का राजनीतिक व्यङ्ग्यका रूपमा लिएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमलाई जोडेर गरिएको यो टिप्पणीले हास्य र व्यङ्ग्यको शैलीमा सार्वजनिक बहस प्रस्तुत गरेको देखिन्छ ।

यसअघि पनि गृहमन्त्री सुदन गुरुङको राजीनामापछि अभिनेता तथा निर्देशक आशिफ शाह लगायत विभिन्न कलाकारहरूले सुशासन र जवाफदेहिताबारे आफ्ना विचार सार्वजनिक गरेका थिए ।

सेलिब्रेटीहरूको यस्ता अभिव्यक्तिहरूले पछिल्ला राजनीतिक घटनाक्रमलाई जनस्तरमा फरक ढङ्गले प्रस्तुत गर्दै सामाजिक सञ्जालमा व्यापक बहस सिर्जना गरिरहेको देखिन्छ ।

यस्तै,नायिका प्रियंका कार्कीले गृहमन्त्रीबाट राजीनामा दिएका गुरुङ झन् बलियो भएर फर्किने विश्वास व्यक्त गरेकी छन् ।

कार्कीले गुरुङको राजीनामापछि सामाजिक सञ्जालमार्फत् उनको पक्षमा ऐक्यबद्धता जनाउँदै कहिलेकाहीँ सबैभन्दा बलिया मानिसहरूले नै जीवनमा सबैभन्दा कठिन परीक्षा दिनुपर्ने उल्लेख गरेकी छन् ।

उनले गुरुङमाथि ‘मिडिया ट्रायल’ भएको टिप्पणी समेत गरेकी छन् । उनले नेपालले अझै सुधन गुरुङभित्रको शक्ति, भिजन  र सम्भावनाको पूर्ण उचाइ देख्न बाँकी रहेको पनि उल्लेख गरेकी छन् ।

ट्रम्पले दिए धम्की : अमेरिका-इरान तनाव पुनः चर्कियो

एजेन्सी। डोनाल्ड ट्रम्प ले युद्धविराम विस्तारको घोषणा लगत्तै ट्रुथ सोसलमार्फत इरानप्रति कडा चेतावनी दिएका छन्, जसले अमेरिका-इरान सम्बन्धमा नयाँ तनाव थपिएको छ।

ट्रम्पले आफ्नो पोस्टमा हर्मुज जलडमरूमध्य संकट, इरानी तेल ढुवानी र खाडी क्षेत्रमा अमेरिकी जलसैनिक नाकाबन्दीको सन्दर्भ उठाउँदै इरानले उक्त जलमार्ग बन्द गर्ने धम्की केवल ‘इज्जत जोगाउने प्रयास’ मात्र भएको दाबी गरेका छन्।

उनले इरानले अडान परिवर्तन नगरेसम्म कूटनीतिक सहमति सम्भव नरहेको उल्लेख गर्दै कडा चेतावनी दिएका छन्। ट्रम्पले इरानको आन्तरिक राजनीतिक अस्थिरता उल्लेख गर्दै युद्धविराम विस्तार गरिएको पनि बताएका छन्।

अमेरिकाले इरानी तेल निर्यात र समुद्री ढुवानीलाई लक्षित गर्दै दबाब बढाइरहेको बताइएको छ, जसका कारण अन्तर्राष्ट्रिय जलमार्गमा आवागमन प्रभावित भएको रिपोर्टहरूमा उल्लेख छ।

यता अब्बास अराक्ची ले अमेरिकी कदमलाई ‘युद्ध कार्य’ को संज्ञा दिँदै नाकाबन्दी जारी रहे हर्मुज जलडमरूमध्य बन्द गर्न सक्ने चेतावनी दिएका छन्। यो जलमार्ग विश्वको प्रमुख तेल आपूर्ति मार्गमध्ये एक भएकाले यसमा अवरोध आए विश्वव्यापी ऊर्जा संकट निम्तिन सक्ने विश्लेषण गरिएको छ।

यसबीच पाकिस्तान ले मध्यस्थकर्ताको भूमिका खेल्दै वार्ता अगाडि बढाउने प्रयास गरिरहेको छ। प्रधानमन्त्री शहबाज शरीफ ले युद्धविराम विस्तारको स्वागत गरेका छन्।

तर कूटनीतिक प्रयास जारी रहँदा पनि ट्रम्पले सैन्य विकल्प खुला रहेको संकेत दिएका छन्। उनले वार्ता असफल भएमा बल प्रयोग गर्न तयार रहेको अभिव्यक्ति दिएका छन्, जसले खाडी क्षेत्रमा सम्भावित द्वन्द्वको जोखिम अझै बढाएको छ।

‘बिचौलिया पक्राउ’

रौतहट। गौरस्थित यातायात व्यवस्था कार्यालयबाट एक जना बिचौलिया पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गौर नगरपालिका-५ दोस्तिया टोलका ४० वर्षीय लक्ष्मीकुमार केशरी रहेका छन्। उनलाई गौर नगरपालिका-३ स्थित यातायात व्यवस्था कार्यालय परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार केशरीले सेवाग्राहीलाई विभिन्न काम छिटो गरिदिने भन्दै अनावश्यक झन्झट दिने, हैरानी गर्ने तथा सेवाग्राहीका कागजात बोकेर विभिन्न फाँटमा जाने गरेका थिए। साथै, कार्यालय परिसरमै सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिने भन्दै प्रलोभन देखाउने गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो।

प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक विष्णुप्रदिप बस्यालका अनुसार पक्राउ परेका केशरीमाथि थप अनुसन्धान अघि बढाइएको छ।

जब च्याटजीपीटी र जेमिनी बने ‘बिक्सोनिमेनिया’ को सिकार

काठमाडौं । एआईले मानिसले भनेका करीब ७६ प्रतिशत कुराहरुमा सहमति जनाउछ। आजका धेरै मानिसहरूबीच कृत्रिम बुद्धिमत्ता (एआई) ले कहिल्यै गल्ती गर्दैन भन्ने धारणा बलियो छ ।  तर सन् २०२४ मा गरिएको एउटा सानो वैज्ञानिक प्रयोगले यो विश्वास पूर्ण रूपमा गलत रहेको देखाएको छ । उक्त प्रयोगमा बिक्सोनिमेनिया नामको कुनै अस्तित्वमै नभएको रोगबारे नक्कली अनुसन्धानपत्र तयार पारेर इन्टरनेटमा राखिएको थियो ।

यस अनुसन्धानपत्रमा कम्प्युटरको अत्यधिक प्रयोगले आँखामा खतरनाक रोग लाग्ने दाबी गरिएको थियो । तर वास्तविकता भने फरक थियो। यो पूरा अनुसन्धान, लेखकहरूको नाम, उनीहरूको संस्था र आर्थिक स्रोत सबै नै बनावटी थिए । यति हुँदाहुँदै पनि च्याटजीपीटी र जेमिनी जस्ता उन्नत एआई प्रणालीहरूले यसलाई सत्य ठानेर प्रस्तुत गरे । उनीहरूले बिक्सोनिमेनिया लाई वास्तविक रोगजस्तै व्याख्या गर्न थाले, जसले गलत जानकारीलाई अझ विश्वसनीय बनायो ।

यो घटनाले देखाउँछ कि एआई प्रणालीहरू पनि गलत वा भ्रामक सूचनाबाट प्रभावित हुन सक्छन्, विशेषगरी जब त्यस्तो सूचना बाहिरबाट विश्वसनीय देखिन्छ । वास्तवमा एआईले आफूले सिकेको डाटाका आधारमा उत्तर दिन्छ, र यदि त्यो डाटामै त्रुटि छ भने परिणाम पनि गलत हुन सक्छ ।

यो समस्या एआईमा मात्र सीमित छैन । आजको समाजमा मानिसहरू पनि गलत जानकारीको शिकार भइरहेका छन् । मानिसको मानसिक प्रवृत्ति, पूर्वाग्रह, र अरूमा निर्भर भएर सूचना लिने बानीले यस्तो भ्रमलाई झन् बढावा दिन्छ । यही कारणले गलत सूचना तीव्र गतिमा फैलिन्छ र धेरैले त्यसलाई सत्य मान्न थाल्छन् ।

यस्तै विषयलाई उजागर गर्न हालै क्याम्ब्रिज फेस्टिभलमा एउटा रोचक प्रयोग गरिएको थियो । ‘द ट्रेटर्स’ भन्ने अवधारणामा आधारित कार्यक्रममा चार जना वक्ताहरूले आफ्नो अनुसन्धान प्रस्तुत गरे, जसमा केही जानकारी पूर्ण रूपमा गलत थियो । दर्शकहरूलाई कसले सत्य बोलेको र कसले झूट भनेको छुट्याउन लगाइयो । तर अधिकांश दर्शकहरू सही निर्णय गर्न असफल भए ।

यसबाट के देखियो भने मानिसहरू तथ्यभन्दा पनि प्रस्तुतिको शैली, भाषा, पहिरन, बोल्ने तरिका र व्यक्तिगत पृष्ठभूमिबाट बढी प्रभावित हुन्छन् । कतिपय अवस्थामा वास्तविक अनुसन्धानलाई गलत ठानियो भने झूटो जानकारी दिने व्यक्तिलाई बढी विश्वसनीय मानियो ।

विशेषज्ञहरूका अनुसार यस्तो अवस्थाबाट जोगिन प्राविधिक ज्ञान मात्र पर्याप्त हुँदैन । आलोचनात्मक सोच अझ आवश्यक हुन्छ । शिक्षा प्रणालीमा विज्ञान र गणितलाई प्राथमिकता दिइए पनि तार्किक विश्लेषण गर्ने क्षमतामा पर्याप्त ध्यान नदिँदा मानिसहरू सजिलै गलत सूचनाको जालमा फस्ने गरेका छन् ।

(तस्बिर : एआई)

एक जनालाई मृत्युदण्ड

काठमाडौं। इरान मा इजरायल का लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको छ।

इरानी न्यायपालिकाका अनुसार मेहदी फरीद नामक व्यक्तिले इजरायलको गुप्तचर एजेन्सी मोसादलाई देशका संवेदनशील विषयबारे जानकारी उपलब्ध गराएका थिए।

अदालतका अनुसार फरीद इरानको ‘प्यासिभ डिफेन्स कमिटी’ को व्यवस्थापन विभागमा कार्यरत थिए र इन्टरनेटमार्फत इजरायलसँग सम्पर्क राख्दै आएका थिए।

यता मानव अधिकारसम्बन्धी संगठन र सामाजिक कार्यकर्ताहरूले बढ्दो मृत्युदण्डका घटनाप्रति चिन्ता व्यक्त गरेका छन्। विशेषगरी अमेरिका, इजरायल र इरानबीच तनाव तथा युद्धको अवस्था बढेसँगै यस्ता घटनामा वृद्धि भएको बताइएको छ।

बीबीसी फारसी को रिपोर्टअनुसार युद्ध सुरु भएयता मृत्युदण्ड जासुसी आरोपमा सीमित नरही विरोध प्रदर्शनमा संलग्न व्यक्तिहरूमाथि पनि लागू गरिएको जनाइएको छ।