`

एक जनालाई मृत्युदण्ड

काठमाडौं। इरान मा इजरायल का लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको छ।

इरानी न्यायपालिकाका अनुसार मेहदी फरीद नामक व्यक्तिले इजरायलको गुप्तचर एजेन्सी मोसादलाई देशका संवेदनशील विषयबारे जानकारी उपलब्ध गराएका थिए।

अदालतका अनुसार फरीद इरानको ‘प्यासिभ डिफेन्स कमिटी’ को व्यवस्थापन विभागमा कार्यरत थिए र इन्टरनेटमार्फत इजरायलसँग सम्पर्क राख्दै आएका थिए।

यता मानव अधिकारसम्बन्धी संगठन र सामाजिक कार्यकर्ताहरूले बढ्दो मृत्युदण्डका घटनाप्रति चिन्ता व्यक्त गरेका छन्। विशेषगरी अमेरिका, इजरायल र इरानबीच तनाव तथा युद्धको अवस्था बढेसँगै यस्ता घटनामा वृद्धि भएको बताइएको छ।

बीबीसी फारसी को रिपोर्टअनुसार युद्ध सुरु भएयता मृत्युदण्ड जासुसी आरोपमा सीमित नरही विरोध प्रदर्शनमा संलग्न व्यक्तिहरूमाथि पनि लागू गरिएको जनाइएको छ।

‘मिडिया ट्रायल’ भयो भन्दै सुधनको पक्षमा उभीईन प्रियंका कार्की

काठमाडौं। नेपाली चलचित्रकी नायिका प्रियंका कार्कीले गृहमन्त्रीबाट राजीनामा दिएका सुधन गुरुङ झन् बलियो भएर फर्किने विश्वास व्यक्त गरेकी छन् ।

कार्कीले गुरुङको राजीनामापछि सामाजिक सञ्जालमार्फत् उनको पक्षमा ऐक्यबद्धता जनाउँदै कहिलेकाहीँ सबैभन्दा बलिया मानिसहरूले नै जीवनमा सबैभन्दा कठिन परीक्षा दिनुपर्ने उल्लेख गरेकी छन् ।

उनले गुरुङमाथि ‘मिडिया ट्रायल’ भएको टिप्पणी समेत गरेकी छन् ।

‘मिडिया ट्रायलले दबाब सिर्जना गरेको स्पष्ट देखिन्छ, तर यस्तो कठिन समयमा पनि पदभन्दा नैतिकता रोज्नु आफैंमा ठूलो कुरा हो । सधैं राम्रो काम गर्ने मानिसले नै धेरै अग्निपरीक्षा दिनुपर्छ, इतिहासले त्यो बारम्बार देखाएको छ । जति टीकाटिप्पणी आए, जति आरोप लागे, सबैको निष्पक्ष र गहिरो छानबिन होस्, सत्य उजागर होस्,’ कार्कीले लेखेकी छन् ।

उनले नेपालले अझै सुधन गुरुङभित्रको शक्ति, भिजन  र सम्भावनाको पूर्ण उचाइ देख्न बाँकी रहेको पनि उल्लेख गरेकी छन् ।

उनको स्टाटस जस्ताकोत्यस्तै :


 

 

गुगलको ‘जेमिनी फर होम’ मा ‘निरन्तर संवाद’ सुविधा सार्वजनिक

काठमाडौं । गुगलले आफ्नो जेमिनी फर होम सेवामा नयाँ निरन्तर संवाद सुविधा सार्वजनिक गरेको छ । यस सुविधाले प्रयोगकर्ताले प्रत्येक पटक हे गुगल भनेर बोलाउनु नपरी लगातार कुरा गर्न सक्ने बनाउँछ ।

यो सुविधा सक्रिय भएपछि स्मार्ट उपकरणले प्रयोगकर्ताको प्रश्नको उत्तर दिएपछि केही सेकेन्डसम्म माइक खुला राख्छ । सो अवधिमा उपकरणको बत्ती बलिरहन्छ, जसले प्रयोगकर्तालाई संवाद जारी राख्न सकिने सङ्केत दिन्छ । त्यस क्रममा प्रयोगकर्ताले स्वाभाविक रूपमा थप प्रश्न सोध्न वा निर्देशन दिन सक्नेछन् ।

कम्पनीका अनुसार जेमिनीले संवादको सन्दर्भ सम्झिरहने भएकाले एउटै कुरा पटक पटक दोहोर्याउनुपर्ने हुँदैन । यसले संवादलाई छिटो, सहज र प्राकृतिक बनाउने अपेक्षा गरिएको छ । यो सुविधा आजदेखि जेमिनी फर होम भ्वाइस सहायकका सबै समर्थित भाषा र उपलब्ध क्षेत्रहरूमा विस्तार भइरहेको छ ।

यसलाई प्रयोग गर्न प्रयोगकर्ताले गुगल होम एपको सेटिङमा गएर जेमिनी फर होम भ्वाइस सहायक अन्तर्गत गएर म्यानुअली सक्रिय गर्नुपर्ने हुन्छ । गुगलका अनुसार नयाँ प्रणालीले प्रयोगकर्ताले सोधेका प्रश्न र वरिपरि भइरहेका अन्य कुराकानीबीच छुट्याउन सक्ने क्षमता राख्छ ।

यद्यपि विगतमा भ्वाइस सहायकहरूले अनचाहिँदो रूपमा कुराकानी सुनेका घटनाहरू सार्वजनिक भइसकेकाले नयाँ प्रविधिको प्रभावकारितामा चासो बढ्ने देखिन्छ । यसअघि पनि यस्तै प्रकारको निरन्तर संवाद सुविधा गुगल असिस्टेन्टमा सीमित रूपमा उपलब्ध थियो । तर अब गुगलले पुरानो सहायकलाई हटाउँदै जेमिनी फर होम लाई नयाँ पुस्ताको भ्वाइस सहायकका रूपमा अघि बढाउने तयारी गरेको छ ।

नेपालद्वारा रुवान्डा पराजित

काठमाडौं । २०२६ आइसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपालले रुवान्डालाई २ विकेटले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ। ८९ रनको साधारण लक्ष्य नेपालले १९.४ ओभरमा ८ विकेट गुमाउँदै अन्तिम दुई बल बाँकी छँदा पूरा गर्‍यो।

नेपालको जितमा ओपनर सम्झना खड्का चम्किइन्। उनले ४२ बलमा ७ चौकासहित ४८ रनको शानदार इनिङ्स खेल्दै टोलीलाई जितको आधार तयार गरिन्।
लक्ष्य पछ्याउने क्रममा नेपालले सुरुवाती चरणमै केही विकेट गुमाए पनि पुजा महतो (१३) र बिन्दु रावल (१०) ले आवश्यक साथ दिँदै पारीलाई सम्हाले। तर मध्यक्रम दबाबमा परेको थियो—कप्तान इन्दु बर्मा १ रनमै रनआउट भइन् भने कविता कुँवर शून्यमा आउट भएर नेपाल संकटमा फसेको थियो।

रुवान्डाका लागि जियोभानिस उवासे सर्वाधिक प्रभावकारी बलर साबित भइन्। उनले ३ विकेट लिइन् भने हेन्रिट र गिसेले इसिम्वे ले २–२ विकेट निकाल्दै खेललाई रोमाञ्चक बनाइदिए।

पहिले ब्याटिङ गरेको रुवान्डा १९.४ ओभरमै सबै विकेट गुमाउँदै ८८ रनमा समेटिएको थियो। नेपालका बलरहरूको नियन्त्रण र कडा फील्डिङका कारण रुवान्डा ठूलो स्कोर बनाउन सफल भएन।

२७ दिनमा गृहमन्त्रीबाट सुधनको राजीनामा : यस्ता छन् कारण (भिडियो)

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्।  उनले बुधबार प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजीनामा दिएका हुन् । 

यस्ता छन् राजीनामाका कारण:   

विवादित व्यवसायी दीपक भट्टसँगको व्यावसायिक साझेदारी तथा उनी संलग्न रहेको कम्पनीमा गुरुङकै सेयर रहेको तथ्य सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भयो । कतिसम्म भने उनलाई बालेन र रास्वपाले नै जोगाउन सकेन। उनको सेयर साझेदारी रहेको लघु विमा कम्पनीमा उनी संस्थापक सेयर होल्डरको रुपमा देखिएका थिए ।

स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्सका सेयर ऋण लिएर खरिद गरिएको उल्लेख भए पनि अन्य सेयर लगानीबारे स्पष्टता नदिइएकोले कुल लगानी ऋणमार्फत हो वा आंशिक मात्र हो भन्ने विषय अनिश्चितता तर्फा धकेलियो।

त्यस्तै, सम्पत्ति विवरणमा सेयर खरिदको स्रोत ‘व्यवसाय, पैतृक सम्पत्ति वा लगानी’ भनेर उल्लेख गरिएको भए पनि ऋणसम्बन्धी विवरण समावेश थिएन । ऋण उल्लेख गर्ने खण्ड खाली राखिएको पाइएपछि गुरुङले वकालत गरिरहेको पारदर्शिताको सवाल झन् पेचिलो बन्यो ।

गुरुङको स्वामित्वमा रहेका केही कम्पनीहरूमा संस्थापक सेयर रहेको तथ्यले पनि सम्पत्ति विवरणसँग मेल खान सकेन । साथै, दीपक भट्टसँगको सम्भावित व्यावसायिक सम्बन्धबारे स्पष्टीकरणमा उल्लेख नभएपछि राजनीतिक तथा प्रशासनिक वृत्तमा उनको राजीनामाको माग बढ्दै गयो ।

विवादित व्यापारी तथा बिचौलिया दीपक भट्ट समुहसँग शेयर लगानी रहेको तथ्य बाहिरिएपछि गुरुङ नैतिक संकटमा फसेका थिए । जुन प्रकरणले उनले आफ्नो मन्त्री पद जोगाउन सकेनन्। 

त्यसअघि गुरुङलाई फेवातालको जग्गा प्रकरणले पनि विवादित बनाएको थियो । फेवाताल वरपरका अवैधानिक संरचना भत्काउने क्रममा तालको मुलघरमा नै गृहमन्त्रीको जग्गा रहेको विषयले पनि उनी विवादित बने।  उनले त्यसलाई भाडाको जग्गा भएको करार गरेपनि त्यसबाट उनी चोखो भने रहन सकेनन् । 

त्यसको केही दिनपछि गृहमन्त्री गुरुङको सम्पत्ति विवरणमा हदबन्दी भन्दा बढी जग्गा देखियो ।  उनले त्यसलाई पैतृक सम्पत्तिको हवाला दिए। 

एकजना व्यक्तिले  अधिकतम् ७० रोपनी जग्गा राख्न पाउने कानुनी व्यवस्था छ।  तर उनको सम्पत्ति विवरणमा २४१ रोपनी जग्गा उल्लेख छ । जुन भागबण्डा गर्दा पनि ३ जनाभन्दा बढी व्यक्तिको नाममा ७० रोपनी जग्गा हुन आउछ।  

यो प्रकरणले पनि उनमाथि नैतिक दबाब बढ्दै गएको थियो। 

गृहमन्त्री गुरुङले सरकार गठन भएकै राति भदौ २३ को जेनजी विद्रोहमा १९  जनाको ज्यान जाने गरी भएको नरसंहारका मतियार भन्दै तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरे ।  उनको यो निर्णय पनि उनकै लागि आत्मघाती जस्तो देखिएको छ। सार्वजनिक वृत्तमै ओली र लेखकलाई हतारोमा पक्राउ गर्ने गुरुङको निर्णय आलोकाँचो भन्दै प्रश्न उठेका थिए।

गुरुङले अन्य थुप्रै नेता तथा व्यावसायीलाई पनि हिरासतमा पुर्याए।  तर उनको पहलमा पक्राउ परेका सबै व्यक्ति अनुसन्धानको आधार नपुग्दा रिहा हुँदै गए। जसले गृहमन्त्री गुरुङलाई झनै राजीनामाको डिलसम्म पुर्याएको देखिन्छ।

किन दिए गृहमन्त्री गुरुङले राजिनामा ? कारण यस्तो

काठमाडौं। विवादै विवादको चपेटामा परेपछि गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्।  उनले विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री गुरुङले आजकै मितिदेखि लागू हुने गरी पद त्याग गरेको जानकारी दिएका हुन्।

चैत १३ देखि गृह प्रशासनको नेतृत्व सम्हाल्दै आएका उनले सार्वजनिक जीवन स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्। मन्त्री गुरुङले पदभन्दा नैतिकता र शक्तिभन्दा जनविश्वास ठूलो भएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्,’आज देशमा सुशासन र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ भन्ने सन्देश दिएको छ,’ उनले भनेका छन्, ‘मेरा ४६ जना भाइ-बहिनीहरूको रगत र बलिदानीको आडमा बनेको यो सरकारमाथि कसैले प्रश्न उठाउँछ भने त्यसको जवाफ नैतिकता नै हुनुपर्छ।’

उनले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’ नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारेका छन्।

राजीनामा घोषणाकै क्रममा गुरुङले सञ्चारकर्मीहरूलाई पनि नैतिकताको प्रश्न उठाएका छन्। उनले भनेका छन्, ‘कति मिडियाकर्मी साथीहरूको कहाँ-कहाँ ‘स्वीट शेयर’ छ, त्यो पनि बिस्तारै आउला। रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।’

उनले आम नेपाली र युवाहरूलाई सम्बोधन गर्दै साँच्चै परिवर्तन चाहने हो भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनुपर्ने अपिल गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गरेका थिए । सोही दिन गुरुङ गृहमन्त्री नियुक्त भएका थिए । सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा परेका थिए ।

स्रोतका अनुसार, रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि गुरुङले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएका हुन्।

उनको स्टाटस जस्ताको त्यस्तै:

म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।
For my country and For the respect of our security forces and For the youths of Nepal.

गृहमन्त्री गुरुङले दिए राजीनामा ( भिडियो)

काठमाडौं। गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्।

बुधबार प्रधानमन्त्री बालेन्द्र शाहलाईगुरुङ्ले राजीनामा बुझाएका हुन्।

विवादित व्यवसायी दीपक भट्टसँगको व्यावसायिक साझेदारी तथा उनले संलग्न रहेको कम्पनीमा गुरुङकै सेयर रहेको तथ्य सार्वजनिक भएपछि गुरुङले राजीनामा दिएका हुन् ।  

इरान युद्धका कारण कण्डमको मूल्य ३० प्रतिशतले बढ्ने

काठमाडौं। कण्डमको मूल्य इरान युद्धका कारण बढाइँदैछ।

५ अर्बभन्दा बढी कण्डम हरेक वर्ष उत्पादन गर्ने विश्वकै ठूलो कम्पनी कारेक्सका प्रमुखले इरान युद्धले कच्चा पदार्थ आपूर्ति अवरुद्ध भएको भन्दै कण्डमको मूल्य ३० प्रतिशतले बढाउने बताएका छन्।

कम्पनीका प्रमुख कार्यकारी प्रमुखगो मीआ किआटले युद्ध सुरु भएपछि कण्डमको उत्पादन लागत बढेको दाबी गरेका छन्।

उनका अनुसार ढुवानी खर्च बढ्दा र समयमा ढुवानी नहुँदा कण्डमको अभाव पनि बढ्दै गएको छ।

विश्वको सबैभन्दा बढी कण्डम उत्पादन गर्ने कम्पनी कारेक्स मलेसियामा रहेको छ।

विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध कालो बेलुन उडाएर प्रदर्शन (तस्वीरहरु)

काठमाडौं। विद्यार्थी संगठनमाथि प्रतिबन्ध गर्ने सरकारी घोषणाको विरोधमा काठमाडौँमा कालो बेलुन उडाएर प्रदर्शन गरिएको छ।

नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ले संयुक्त रूपमा राजधानीमा विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले विद्यार्थी संगठनमाथिको प्रतिबन्धलाई अलोकतान्त्रिक र दमनकारी कदम भनेका छन्।

नेविसंघका केन्द्रीय सदस्य मात्रिका तिमिल्सिनाले शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थीलाई हिरासतमा लिएको घटनाप्रति आपत्ति जनाए। उनका अनुसार सरकारले विद्यार्थी संगठनमाथि प्रतिबन्धको घोषणा गरेर पञ्चायतकालमा समेत नभएको अभ्यास गरेको छ।

तिमिल्सिनाले सरकारले प्रतिबन्धको निर्णय फिर्ता नलिए देशभर सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। यसअघि सिंहदरबारमा गरिएको प्रदर्शनका क्रममा केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

तस्वीर:

 

रविको सांसद पद निलम्बनमा नपर्ने

काठमाडौं ।  रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्ने बाटो बन्द भएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा आफ्नो सांसद पद निलम्बनमा पर्ने त्रासमा लामिछाने थिए । 

कानुन व्यवसायीहरूले गत चुनावमा चितवन-२ का मतदातालाई भनेका थिए– लामिछानेले चुनाव जिते पनि निलम्बनमा पर्ने हुन्, उनलाई नजिताउनु । तर, चितवन-२ का मतदाताले लोकप्रिय मतसहित तेस्रोपटक चुनाव जिताएर लामिछानेलाई सांसद पठाए ।

यस्तोमा उनलाई अनुकूल हुनेगरी प्रतिनिधिसभा नियमावली उनकै पार्टीको संसदीय दलका उपनेता रहेका गणेश पराजुली नेतृत्वको समितिले बनाएका हुन् । नियमावली समितिले सभामुख डोलप्रसाद अर्याललाई बुझाइसकेको छ । अर्याल विगतमा रास्वपाको उपसभापति थिए । 

रास्वपाको संसदमा झण्डै दुई तिहाइ बहुमत छ । त्यसो हुँदा सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरण मुद्दाको प्रतिवादी भएको अवस्थामा उनको सांसद पद निलम्बनमा नपर्नेगरी पराजुली नेतृत्वको समितिले नियमावली ल्याएको हो । जुन संसदबाट सहजै पारित हुने अवस्था छ । 

प्रतिनिधिसभा नियमावलीलाई ‘विशेष कानुन’ भन्दै सम्पत्ति शुद्धीकरण ऐनभन्दा माथि राखिएको छ । त्यसो हुँदा रविलाई उक्त ऐनअनुसार निलम्बन गर्ने कानुनी आधार बन्द भएको हो । 

सांसदहरूका हकमा यो नियमावली संघीय कानुनभन्दा रुपमा विशेष कानुन सरह लागू हुने भनिएको छ ।

गृहमन्त्रीको चटारो : भेट्न पुगे प्रधानमन्त्री (भिडियो)

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न पुगेका छन् । 

विवादित व्यवसायी दीपक भट्टसँगको व्यावसायिक साझेदारी तथा उनले संलग्न रहेको कम्पनीमा गुरुङकै सेयर रहेको तथ्य सार्वजनिक भएपछि गृहमन्त्रीको चर्को आलोचना भइरहेको छ। यही विषयमा स्पष्टीकरण र आगामी कदमबारे प्रधानमन्त्रीसँग प्रत्यक्ष संवाद गर्न गुरुङ प्रधानमन्त्री कार्यालय पुगेका हुन्।

दीपक भट्ट ‘बिचौलिया’ तथा विवादास्पद कारोबारीका रूपमा चिनिँदै आएका व्यक्ति हुन्। उनी अहिले हिरासतमा छन्।  भट्टसँगको आर्थिक सम्बन्ध खुलेपछि गृहमन्त्री गुरुङको नैतिक जिम्मेवारी, पारदर्शिता र पदमाथिको आचरणबारे गम्भीर प्रश्न उठिरहेका छन्। सुरक्षा संयन्त्रका उच्च जिम्मेवारी सम्हाल्ने व्यक्तिसँग विवादित व्यवसायीको साझेदारी हुनु सरकारकै विश्वसनीयतामाथि घाउ भएको भन्दै उनीमाथि राजीनामाको दबाब पनि बढ्दो छ। तर राष्ट्रिय स्वतन्त्र पार्टी भने यो विषयमा मौन छ। 

गुरुङले प्रधानमन्त्रीलाई आफ्नो पक्ष खुलाउने, परिस्थिति बुझाउने र सम्भावित कदमका बारेमा मार्गदर्शन खोज्ने बताइएको छ। प्रधानमन्त्रीले दिने निर्देशनले नै गुरुङको मन्त्रालयको आगामी अवस्था निर्धारण गर्ने देखिन्छ।

नेपाल ‘ए’ लाई २ सय ८१ रनको लक्ष्य

काठमाडौं । मुलपानी क्रिकेट मैदानमा आजबाट सुरु भएको ‘नेपाल ए एकदिवसीय सिरिज २०२६’ को उद्घाटन खेलमा ओमानले नेपाल ए अगाडि बलियो चुनौती पेस गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८० रनको प्रतिस्पर्धात्मक स्कोर बनायो।

ओमानका मध्यक्रमका मुजिबुर अली शानदार फर्ममा रहे । उनले ८५ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ७२ रन जोडे। ओपनर जतिन्दर सिंहले आक्रामक सुरुवात दिलाउँदै ४८ बलमा ५८ रन बनाए।
त्यसैगरी हासिर दफेदारले ४६ रन र आशिष ओडेदराले २७ रनको योगदान दिए।

नेपाल ए का लागि आकाश चन्द उत्कृष्ट बलर साबित भए। उनले ४ विकेट लिए भने सन्तोष यादवले २ विकेट हात पारे। शहाब आलम, रशिद खान र शेर मल्लले एक–एक विकेट लिएर ओमानको रन प्रवाह रोक्न प्रयास गरे।

झापामा ‘पेलेट ऊर्जा’ उत्पादन सुरु

झापा। झापाको मेचीनगर-१५ ज्यामिरगढीमा खेर जाने जैविक सामग्री प्रयोग गरी ‘पेलेट ऊर्जा’ उत्पादन सुरु गरिएको छ।

पराजुली बायोमास ब्रिकेट उद्योग ले सुरु गरेको यो उत्पादनमा पत्थर कोइला र दाउराको विकल्पका रूपमा प्रयोग गर्न मिल्ने दानेदार इन्धन तयार गरिन्छ। उद्योगका अनुसार यसको उत्पादन क्षमता १२ घण्टामा करिब ७० हजार किलोसम्म रहेको छ।

उद्योगमा उखुको खोस्टा, बाँसका टुक्रा, काठका फोहोर र पातपतिङ्गर जस्ता जैविक सामग्री प्रशोधन गरी पेलेट बनाइन्छ। उत्पादन भएको इन्धन झापासहित अन्य जिल्ला र भारतसम्म निर्यात गर्ने योजना रहेको छ।

सस्तो र कम प्रदूषण गर्ने इन्धनको माग बढ्दै गएसँगै यस्तो पेलेट उत्पादन विस्तार हुने देखिएको छ। यसले कोइला आयात घटाउने र स्थानीय स्रोतको उपयोग बढाउने अपेक्षा गरिएको छ।

रातो मछिन्द्रनाथ जात्राको रौनक(तस्बिरहरु)

काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्ने परम्परागत जात्रा आज मंगलबारदेखि सुरु भएको छ।

ललितपुरको पुलचोकबाट सुरु गरिएको रथ तान्दै गाबाहालसम्म पुर्‍याइएको छ। प्रत्येक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म सञ्चालन हुने यो जात्रा काठमाडौं उपत्यका कै सबैभन्दा लामो तथा महत्वपूर्ण धार्मिक-सांस्कृतिक पर्व मानिन्छ।

बालेन सरकारमाथि गर्जिए गगन : विराटनगरबाटै दिए आन्दोलन गर्ने चेतावनी

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापा ले सरकारले नागरिकका माग बेवास्ता गरे सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन्।

बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।

उनले भदौ २४ गतेको घटनाको निष्पक्ष छानबिन गर्न माग गरे। साथै, सरकारले कानुन मिचेर निर्णय गरिरहेको आरोपसमेत लगाए।

थापाले जनहितका विषयमा कांग्रेस दृढ रूपमा उभिने स्पष्ट पार्दै सरकारका राम्रा काममा समर्थन रहने तर कमजोरीमा कडा रूपमा आवाज उठाइने बताएका छन्।

बेथानचोक आधारभूत अस्पताल निर्माणपछि वर्षौं अलपत्र: बजेट अभावले सञ्चालन अवरुद्ध(तस्बिरहरु)

काभ्रेपलाञ्चोक।  काभ्रेको बेथानचोक गाउँपालिका-३ मा निर्माण भएको बेथानचोक आधारभूत अस्पताल निर्माण सम्पन्न गरेर ठेकेदारले हस्तान्तरण गरेको एक वर्षभन्दा बढी भइसके पनि सञ्चालनमा आउन नसकेर अलपत्र परेको छ।

अस्पताल सञ्चालनमा नआउँदा स्थानीयबासी उपचारका लागि बनेपा नै पुग्नुपर्ने बाध्यता छ ।

स्थानीय केशवबहादुर बस्नेत भन्छन्- ‘भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको एक वर्षभन्दा बढी भइसक्यो । अहिलेसम्म सञ्चालनमा आएको छैन। सुरक्षा गार्डसम्म राखिएको छैन। सीसीटिभी जडान भएको छ तर चलाइएको छैन। झ्यालका सिसाहरु फुटेका छन्। पालिकाले जिम्मा लिएर अलपत्र छाडेको छ। ‘

बेथानचोक गाउँपालिका-२ का सूचना अधिकृत ज्ञानप्रसाद तिमल्सिनाले बजेट अभावमा अस्पताल सञ्चालनमा ल्याउन नसकिएको बताए।

 

स्वास्थ्य बीमा बोर्डको नाम र लोगो दुरुपयोग, २४ घण्टाभित्र हटाउन निर्देशन

काठमाडौं। स्वास्थ्य बीमा बोर्ड ले आफ्नो नाम र लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमा सञ्चालन भइरहेका अनधिकृत पेज तथा समूहप्रति ध्यानाकर्षण भएको जनाएको छ।

बोर्डका अनुसार फेसबुक, टिकटक र युट्युब जस्ता प्लेटफर्ममा गलत तथा भ्रामक सूचना फैलाउने पेजहरूले सर्वसाधारणमा भ्रम सिर्जना गरिरहेका छन्।

त्यस्ता अनधिकृत पेज तथा समूहहरूलाई सूचना प्रकाशित भएको मितिले २४ घण्टाभित्र हटाउन बोर्डले निर्देशन दिएको छ। निर्देशन पालना नगरेमा प्रचलित कानुन अनुसार आवश्यक कारबाही अघि बढाइने चेतावनीसमेत दिइएको छ।

यसैबीच, बोर्डले आफ्ना आधिकारिक सामाजिक सञ्जाल खाताबाट मात्र सही सूचना लिन सर्वसाधारणलाई आग्रह गरेको छ।

दुर्गा प्रसाईँविरुद्ध मुद्दा दायर,५ वर्षसम्म कैद सजायको माग

काठमाडौं। मेडिकल व्यवसायी तथा दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं ले उनलाई उक्त ऐनको दफा ४७(१) बमोजिम सजाय गर्न माग गरेको हो । सो दफाअनुसार कसुर प्रमाणित भएमा १ लाख रुपैयाँसम्म जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।

अभियोगपत्रमा प्रसाईंले सामाजिक सञ्जाल (फेसबुक) मार्फत आगामी निर्वाचनबारे भ्रामक तथा उत्तेजक अभिव्यक्ति दिएको उल्लेख छ। विशेषगरी २०८२ फागुन २१ गतेका लागि तय निर्वाचनबारे “निर्वाचन गरिए देश टुक्रिन्छ” भन्ने जस्ता अभिव्यक्ति दिई वैमनस्यता फैलाएको आरोप लगाइएको छ।

त्यस्तै, उनले राजसंस्था र हिन्दु राज्यको माग गर्दै निर्वाचन रोक्ने, तथा हिंसा उक्साउने खालका अभिव्यक्ति दिएको दाबी गरिएको छ। भिडियोहरूमा “मर्न र मार्न तयार हुने” जस्ता शब्द प्रयोग गरेको प्रमाणसमेत पेश गरिएको प्रहरी अनुसन्धानले देखाएको छ।

यसै आधारमा उनलाई थप सजाय र पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउनसमेत माग गरिएको छ।

‘जिरो डिग्री’ को छायांकन सम्पन्न

काठमाडौं। मेघौली फिल्म्सको ब्यानरमा निर्माण भइरहेको डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। कास्कीको धिताल गाउँमा कलाकारद्वय राजन भुसाल र प्रकाश घिमिरेको अन्तिम टेक लिँदै सोमबार चलचित्रको ‘प्याकअप’ गरिएको हो।

३५ दिनको तालिका तय गरेर पोखराको अर्मलाकोट मन्दिरबाट सुरु गरिएको छायांकन ३७ दिनमा सम्पन्न भएको निर्माण पक्षले जनाएको छ। चलचित्रको छायांकन पोखरा वरपरका अर्मलाकोट, धिताल, घार्मी र बगरजस्ता रमणीय तथा मौलिक बस्तीहरूमा गरिएको हो।

सजन काफ्ले र आकास बरालको संयुक्त निर्देशन तथा पटकथा रहेको यस चलचित्रमा अभिनेता विजय बराललाई अहिलेसम्मकै फरक अवतारमा देख्न पाइने बताइएको छ।

कथाअनुसार सडक सञ्जाल नपुगेको विकट गाउँमा आमाबुबाको निधनपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शवलाई ‘डीप फ्रिज’मा सुरक्षित राख्ने प्रयास गर्दा उत्पन्न हुने घटनाक्रम र रमाइला परिस्थितिहरू चलचित्रको केन्द्रमा छन्।

चलचित्रमा विजय बरालसँगै प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक लगायतका कलाकारहरूको अभिनय रहेको छ।

मोती कार्की कार्यकारी निर्माता रहेको चलचित्रको छायांकन निशाल पौडेलले गरेका हुन्। सम्पादन चानस पुन मगर, रंग संयोजन राजेन्द्र मोक्तान, संगीत अङ्कित बाबु अधिकारी र शब्द युवराज काफ्लेले गरेका छन्।

चलचित्रको प्रचार डिजाइन रोयल भिमसेन तथा ट्राइडेन्ट कन्सेप्ट टिमले गर्नेछन् भने वितरण उपत्यकाबाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकामा डीसीएनले गर्ने बताइएको छ।

बागलुङमा दादुरा नियन्त्रणत प्रभावकारी

बागलुङ। गत फागुन ८ गतेदेखि ढोरपाटन नगरपालिका-७, ८ र ९ मा फैलिएको दादुरा संक्रमण अहिले नियन्त्रणमा आउन थालेको छ।

विश्व स्वास्थ्य सङ्गठन, प्रदेश जनस्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्यकर्मीहरूको संयुक्त टोलीले प्रभावित क्षेत्रमा पुगेर अध्ययन तथा खोप अभियान सञ्चालन गरेपछि संक्रमण घट्दै गएको हो। फागुन २९ गतेदेखि चैत २ गतेसम्म बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाएपछि यसको प्रभाव देखिन थालेको जनाइएको छ।

खोप अभियानअघि दैनिक १० देखि १५ जनासम्म शंकास्पद बिरामी अस्पताल पुग्ने गरेका थिए। तर पछिल्लो आठ दिनमा यो संख्या घटेर मंगलबार निसीखोला गाउँपालिकाका एक जना शंकास्पद बिरामी मात्र बुर्तिबाङ अस्पतालमा भर्ना भएको प्रदेश जनस्वास्थ्य कार्यालय का प्रमुख प्रवीण शर्माले जानकारी दिए।

हालसम्म २३९ जना शंकास्पद बिरामी देखिएकामा ३४ जनाको नमूना परीक्षणका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो, जसमध्ये १४ जनामा दादुरा संक्रमण पुष्टि भएको छ।

प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म १० देखि १९ वर्ष उमेर समूहका ६ हजार १४० जना बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाइएको छ। अधिकांश बिरामी निको भइसकेका छन् भने एक जना मात्रै उपचाररत रहेको जनाइएको छ।

दुईजना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्यान्ड र जर्मनी पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-२ बस्ने काठमाडौं महानगरपालिका-१४ घर भएकी ३३ वर्षीया बिनिता नगरकोटी र भक्तपुर मध्यपुर थिमी नगरपालिका-२ राधेराधे बस्ने मोरङ बेलबारी नगरपालिका-२ घर भएकी ३६ वर्षीया बेनु श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार बिनिताले पोल्यान्ड पठाइदिन्छु भन्दै एक पीडितबाट १ लाख २० हजार रुपैयाँ ठगी गरेकी थिइन् भने बेनुले जर्मनी पठाइदिन्छु भन्दै अर्का पीडितबाट १६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएकी थिइन्।

पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिनितालाई कीर्तिपुर नगरपालिका-२ बाट मंगलबार र बेनुलाई मध्यपुर थिमी नगरपालिका-३ राधेराधेबाट सोमबार पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

काठमाडौं। नेपाल राष्ट्र बैंक ले बुधबार बैंक तथा वित्तीय संस्थाबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।

निक्षेप संकलन उपकरण प्रयोग गर्दै केन्द्रीय बैंकले उक्त रकम १६८ दिनका लागि संकलन गर्न लागेको हो। दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोलमार्फत संकलन गरिने यस रकमको सावाँ र ब्याज भुक्तानी असोज २१ गते गरिने राष्ट्र बैंकले जनाएको छ।

यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउनेछन्। सहभागी संस्थाहरूले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल लगाउन सक्नेछन्।

संकलित रकम बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाहेक अन्य निकायमा समेत धितोका रूपमा प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

 

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। स्थानीय बजारमा आज सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सुन प्रतितोला ८०० रुपैयाँले घटेर ३ लाख ५ हजार रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ३० रुपैयाँले घट्दै ५ हजार १३० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार हिजोको तुलनामा दुवै बहुमूल्य धातुको मूल्य घटेको हो। मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँ र चाँदी ५ हजार १६० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि आज सुन र चाँदीको मूल्य क्रमशः प्रति औँस ४ हजार ७५५ अमेरिकी डलर र ७७ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावकै प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन्।

गर्भपतन मृत्यु प्रकरण: दुई चिकित्सकसहित ५ जना प्रहरीको फन्दामा

काठमाडौं। बुटवलस्थित इन्दु लेखा स्वास्थ्य क्लिनिकमा गर्भपतनका क्रममा एक गर्भवती महिलाको मृत्यु भएको घटनामा प्रहरीले दुई जना चिकित्सकसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

वैशाख ६ गते पाल्पाकी २९ वर्षीया गीता पाण्डेको गर्भपतनका क्रममा मृत्यु भएको थियो । सो घटनासँग सम्बन्धित बुटवलस्थित खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्री, इन्दु लेखा स्वास्थ्य क्लिनिकमा कार्यरत दुई महिला र एक पुरुष नर्सिङ स्टाफलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवका अनुसार तीन जनालाई नियन्त्रणमा लिइएको छ भने दुई जना चिकित्सक आफैं प्रहरीको सम्पर्कमा आएका छन् ।

मृतकका पति प्रकाश पाण्डेले आर्थिक लाभको उद्देश्यले चिकित्सकहरूले गम्भीर लापरबाही गरेको आरोप लगाउँदै डा. खत्री र रुपाखेतीसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।

पीडित पक्षले डा. खत्रीले नै गर्भपतन गराउन इन्दु लेखा क्लिनिकमा जान सल्लाह दिएको आरोप लगाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको अस्तित्व असीमभन्दा कममा सन्तुष्ट हुन सक्दैन – सद्गुरु

काठमाडौं। ‘सद्गुरु’ नामले परिचित जग्गी वासुदेव एक चिन्तक, लेखक तथा आध्यात्मिक वक्ता हुन्। भारतको कर्नाटकमा जन्मिएका उनी वैज्ञानिक दृष्टिकोणसहित आध्यात्मिक विचार प्रस्तुत गर्ने व्यक्तित्वका रूपमा चिनिन्छन्। उनका विचारहरू ढोंग वा अन्धविश्वासभन्दा टाढा रही जीवन, चेतना र मानव अनुभवमा केन्द्रित हुन्छन्।

उनका पिता चिकित्सक थिए भने उनी ‘ईशा फाउन्डेशन’ नामक मानवसेवी संस्थाका संस्थापक हुन्। उनले विभिन्न भाषामा सयभन्दा बढी पुस्तक लेखेका छन्।

सद्गुरुले जीवन, चेतना र आत्मविकासबारे धेरै प्रेरणादायी विचार प्रस्तुत गरेका छन्।

उनको  ‘कर्म’ प्रवचनको केहि अंश :

जब म बोल्छु, तपाईंहरूसँग मेरो कर्म रेकर्ड गर्न तीन वटा रेकर्डर हुन्छन्। यो सुनिश्चित गर्ने एउटा दुष्ट चाल हो कि ?  र अर्को म कहिल्यै पनि मेरो वचनबाट पछि हट्न नपरोस्।  

अनि अर्को कुरा तपाईंहरूमा सबैभन्दा आधारभूत प्रवृत्ति आत्म संरक्षणको हो। आफूलाई सुरक्षित राख्न तपाईंहरूले आफ्नो वरिपरि पर्खाल बनाउनु भयो। पर्खालबाट प्राप्त सुरक्षाको केही समयसम्म आनन्द लिनुभयो।

तर तपाईंको अर्को भाग सधैं असीम रूपमा विस्तार हुने चाहना राख्छ। तपाईंको त्यो आयामले अचानक तपाईंलाई भन्न थाल्छ कि यो पर्खाल एउटा जेल हो। त्यो पर्खाल भत्काएर बाहिर जान चाहन्छ। तपाईंको अर्को भाग आत्म रक्षाका लागि संघर्ष गरिरहेको हुन्छ र पर्खाललाई अझ बलियो बनाउन चाहन्छ। त्यो पर्खाललाई अझ मोटा र अझ मोटा बनाउन चाहन्छ।

यदि तपाईं कुनै मानिसलाई हेर्नुहुन्छ भने, चाहे चार्ल्स डार्विन अनुसार नै किन नहोस्। तपाईंको इतिहास पशु प्रकृतिको हो। तपाईंभित्र केही यस्तो छ,जुन निरन्तर विस्तारको चाहना राख्छ। असीम विस्तार। 

तपाईंको इतिहास पशुवत छ। तपाईंको भविष्य देवत्व हो। अहिले तपाईं एक पेंडुलम जस्तो झुन्डिएको अवस्थामा हुनुहुन्छ। तपाईंको एउटा भाग, तपाईंको सबैभन्दा बलियो प्रवृत्ति,आत्म रक्षा हो। तपाईंको अर्को भाग सबै सीमाहरू तोड्ने चाहना राख्छ।

कर्म आत्म रक्षाको पर्खाल हो। तपाईंले यसलाई कुनै समय धेरै सावधानीपूर्वक बनाउनु भएको थियो, तर अहिले तपाईं आफूलाई कैद भएको महसुस गर्नुहुन्छ। कर्म,आत्म कैदको हवेली हो। तपाईं यससँग बस्न पनि सक्नुहुन्न, यसबिना पनि रहन सक्नुहुन्न। यही समस्या हो।

त्यसैले अब तपाईं आफ्नो जेलको आकार बढाउने प्रयास गर्नुहुन्छ। तर मानौं हामी तपाईंलाई ५ x ५ को सानो कोठामा बन्द गर्यौं। हामीले तपाईंलाई पूर्ण रूपमा त्यहाँ बन्द गर्यौं। तपाईंको इच्छाले होइन। त्यस अवस्थामा तपाईं स्वतन्त्रताको चाहना गर्नुहुनेछ। स्वतन्त्रताको तपाईंको कल्पना आश्रमका पर्खाल र बारहरू हुनेछन्।

यदि हामी तपाईंलाई त्यहाँबाट बाहिर निकालिदियौं भने, त्यो धेरै ठूलो स्वतन्त्रता जस्तो लाग्छ। तर तीन दिनभित्र तपाईं पहाडहरू हेर्नुहुन्छ, आकाश हेर्नुहुन्छ र गेट हेर्नुहुन्छ। स्वतन्त्रताको तपाईंको कल्पना आश्रमको गेटबाट अर्को कुरासम्म फैलिन्छ।

तपाईं थानिकाण्डीसम्म गएर आउन सक्नुहुन्छ। केही समयका लागि यो धेरै राम्रो स्वतन्त्रता लाग्छ, तर त्यसपछि तपाईं कोयम्बटूरसम्म जान चाहनुहुन्छ।

यदि तपाईं कोयम्बटूरको पर्याप्त यात्रा गर्नुहुन्छ। तपाईंलाई लाग्छ कोयम्बटूर पर्याप्त छैन। तपाईंमध्ये जो परम्परागत आध्यात्मिकताबाट धेरै प्रभावित हुनुहुन्छ। उनीहरू हिमालय जान चाहन्छन्। तपाईं कुनै ठूलो सहर वा अर्को ठाउँ जान चाहनुहुन्छ। त्यसैले कैदको बारेमा तपाईंको सोच निरन्तर परिवर्तन भइरहेको हुन्छ। स्वतन्त्रताको बारेमा तपाईंको सोच पनि निरन्तर विकसित भइरहेको हुन्छ।

जीवनलाई  बुझ्न पूरै जीवन किन बर्बाद गर्ने ? अन्त्यमा मूर्ख जस्तो महसुस गर्दै मर्नुपर्छ। यसबारे विचार गर्ने यही समय हो। स्वतन्त्रताको तपाईंको सोच असीम हुनुपर्छ। तपाईंको अस्तित्व असीमभन्दा कममा सन्तुष्ट हुन सक्दैन।

यदि तपाईं आफैँलाई हेर्नुहुन्छ भने यो स्पष्ट छ। तपाईं असीम बन्न चाहनुहुन्छ। यदि तपाईं भौतिक वास्तविकताको सीमाभन्दा पर जानुहुन्छ भने मात्र असीम हुने सम्भावना हुन्छ।

स्वतन्त्रता र बन्धनबीचको फरक यत्ति हो। बाध्यताबाट संचालित हुनुहुन्छ वा आफ्नो छनोटबाट। मानिसका लागि कर्मका धेरै प्रकार हुन्छन्। तिनीहरूको फल सधैं उपस्थित हुन्छ। तपाईंमै निर्भर हुन्छ, यो तपाईंको हातमा हुन्छ।

तपाईंसँग कस्तो प्रकारको कर्म छ।  यो क्षण कर्म सधैं तपाईंको हातमा हुन्छ। यस क्षणमा खुशी हुनु वा दुःखी हुनु। १०० प्रतिशत तपाईंको छनोटमा निर्भर हुन्छ। यदि तपाईं सचेत हुन इच्छुक हुनुहुन्छ भने।

त्यसैले, कर्म रेकर्ड गरिनु वा मलाई रेकर्ड गर्न तपाईंहरूले तीन तरिका प्रयोग गर्नु समस्या होइन। म मेरो वचनबाट कहिल्यै पछि हट्नेवाला छैन।  

यदि तपाईं चाहनुहुन्छ भने ३०० रेकर्डर प्रयोग गर्नुहोस्। तपाईं एउटै कुरा मात्र रेकर्ड गर्नुहुन्छ। प्रकृतिले लाखौँ तरिकाले रेकर्ड गरिरहेको छ।  

त्यसैले तिनीहरूलाई रेकर्ड गर्न दिनुहोस्। स्वर्गदूतहरू, राक्षसहरू र सबैलाई तपाईंको कर्म रेकर्ड गर्न दिनुहोस्। रूखहरू, जनावरहरू र कीराहरूलाई तपाईंको कर्म रेकर्ड गर्न दिनुहोस्।

ईशाबाट साभार

इरानको दिक्दारी – ‘ट्रम्पसँग वार्ता गर्नुको तुक छैन’

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अनिश्चित अवधिसम्म लम्ब्याउने निर्णय गरेपछि इरानका उच्च तहका अधिकारीहरूबाट कडा प्रतिक्रिया आउन थालेको छ ।

इरानी संसदका सदस्य  महमूद नबाभियनले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकासँग अब वार्ता गर्नु अर्थहीन हुने बताएका छन् । ‘यहाँबाट अमेरिकासँग वार्ता गर्नु पूर्ण रूपमा हानिकारक र तुकहीन हुनेछ,’ उनले उल्लेख गरेका छन् । नबाभियन इस्लामाबादमा भएको इरान-अमेरिका वार्ताको पहिलो चरणमा सहभागी प्रतिनिधिमण्डलका सदस्यसमेत हुन् ।

यस्तै, इरानको शीर्ष सैन्य कमाण्ड खातम अल-अन्बिया मुख्यालयका प्रवक्ताले कुनै पनि आक्रमण भएमा इरानी सेनाले ‘पहिले नै तय गरिएका लक्ष्यहरूमा अझ कडा प्रहार गर्ने’ चेतावनी दिएका छन् । उक्त चेतावनी अमेरिका र इजरायल दुवैलाई लक्षित भएको विश्लेषण गरिएको छ ।

यद्यपि, नबाभियनको टिप्पणी र सैन्य वक्तव्यमा युद्धविराम थपिएको विषयमा प्रत्यक्ष उल्लेख गरिएको छैन । ती प्रतिक्रिया ट्रम्पको घोषणापछि इरानी सञ्चारमाध्यममार्फत सार्वजनिक भएका हुन् ।

अहिलेसम्म मोहम्मद बाघेर गालिबाफसहित इरानी विदेश मन्त्रालयका उच्च अधिकारीहरूबाट औपचारिक प्रतिक्रिया भने आउन बाँकी रहेको छ ।

भक्तपुरका महेश गौशालाबाट पक्राउ

काठमाडौं। सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले भक्तपुर घर भएका महेश गिरीलाई पक्राउ गरेको छ ।

गिरीलाई मंगलबार काठमाडौँको गौशालाबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।

प्रहरीका अनुसार उनले फेसबुकमार्फत एक पीडित महिलाको फोटो प्रयोग गर्दै चरित्र हत्या गरेको आरोप छ । शोभा पाठकले सामाजिक सञ्जालमै आफ्नो चरित्र हत्या गरिएको भन्दै गिरी पक्राउ परेको जानकारी दिएकी छन् ।

उनले लेखेकी छन्, ‘मेरो फोटोहरू हालेर चरित्र हत्या गर्दै हिँड्ने र धाकधम्की दिने महेश गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।’ साथै आफूविरुद्ध हैरानी दिने अन्य व्यक्तिहरूविरुद्ध पनि उजुरी गर्ने बताएकी छन् ।

पक्राउ परेका गिरीमाथि विद्युतीय अपराध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ । बुधबार म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइने एसपी गिरीले बताए ।

८०० रुपैयाँले घट्याे सुनकाे मूल्य

काठमाडाैं। नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेर ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ३० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार १६० रुपैयाँ रहेको थियो।

जेन-जी सकल

नेपालीपनकाे विकास पथमा आयाे भने अड्चन
रुक्ने हाेइन है कदापि अब ता सम्झेर त्याे दुर्दिन
हत्यारा, अपराधकाे विषयमा हाे न्याय निर्णायक
छाेड्ने हाेइन है तथापि सजिलै यी स्वार्थदर्शी जन ।।१।।

निर्दाेषी भुँइ रक्तरन्जित विशे अन्धाे भए कानुन
गर्ला जन्म थलाे शहीद समझी इन्साफकाे क्रन्दन
हाेला फेरि कुनै अनाहक यहाँ हड्ताल आन्दाेलन
मर्लान् फेरि अझै अनेक निहुँमा निर्दाेष साथी जन ।। २।।

चिन्नैपर्दछ ती स्वदेश थलका याेगी महात्मा मुनी
गर्नैपर्दछ धर्म दान जनले दाता फरिस्ता बुझी
फाल्नैपर्दछ यी कुचाह जनका चम्चा र दादागिरी
फेर्नैपर्दछ त्याे हरेक घरकाे निस्तेजकाे जिन्दगी ।।३।।

उस्तै चाह र स्वार्थकाे तवरले छुट्टिन्न है अन्तर
आशा धेर छ है नयाँ सकलकाे यै देशकाे खातिर
आफैँमा छ स्वयम् अपूर्व मणिझैँ नेपाल याे सुन्दर
पाएकाे मतकाे हिफाजत गरे बन्नेछ हाम्रै घर ।।४।।

घाेट्दा बन्छ भने बडाे रगडिदा त्याे दाउराे चन्दन
ए छाेरा अब बन्नुपर्दछ यहाँ त्याे स्वर्गकाे नन्दन
पुस्ताकाे बलिकाे अमूल्य प्रण याे राख्नू सधैँ कायम
आमा फुल्न सदा तिमी भुवनकाे बन्नू ठुलाे सेवक ।।५।।

बालेनलाई सडकमा पछारेर घिसार्ने सभापति खड्काको चेतावनी (भिडियो)

काठमाडौं। स्वतन्त्र विद्यार्थी आरआर का सभापति लोकेश कुमार खड्काले प्रधानमन्त्री बालेन्द्र शाहलाई सडकमा घिसारेर पछार्ने चेतावनी दिएका छन् ।
सरकारको विधार्थी संगठन खारेज गर्ने निर्णयका विरुद्द संयुक्त विधार्थी संगठन र स्वतन्त्र विधार्थी युनियन आरआरले  निकालेको राँके जुलुसको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति खड्काले चेतावनी दिएका हुन्।
प्रधानमन्त्री बालेनले विद्यार्थी संगठन खारेजी तुरुन्त कार्यान्वयन गर्न गर्न भनेका छन्।  यो निर्णयसँगै शाहविरुद्व देशभर विद्यार्थीहरुले प्रर्दर्शन गरिरहेका छन्।

विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्व स्ववियु आरआरले निकाल्यो राँके जुलुस 

काठमाडौं।  सरकारको विधार्थी संगठन खारेज गर्ने निर्णयका विरुद्द संयुक्त विधार्थी संगठन र स्वतन्त्र विधार्थी युनियन रत्न राज्यलाक्क्ष्मी क्याम्पस (आरआर) ले प्रदर्शनी मार्गमा राँके जुलुस निकालेका छन्। 

प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) ले सरकारको विधार्थी संगठन खारेज गर्ने निर्णयका विरुद्ध उनीहरुले संयुक्त प्रदर्शन गरेका हुन्। 

विधार्थी आन्दोलन जिन्दावाद, विधार्थी संगठन खारेज गर्न पाइदैन जस्ता नारासहित जुलुस निकालेका उनीहरुले सरकारले आफ्नो निर्णय फिर्ता नलिए आन्दोलन झनै चर्काउने चेतावनी दिए। 

आर-आर स्ववियु सभापति लोकेश कुमार खड्काले बन्धुकधारीहरुलाई हेल्मेट हालेर विश्वविद्यालयको गेटमा गेटमा पठाएर विचार मार्न खोजेको आरोप लगाए। 

उनले भने, ‘ हामीले प्रगति भन्दा पहिले परिवर्तन चाहेका छौं।  हामी हाम्रो विचार, एकताबद्व हुने अधिकार खोज्न आन्दोलन गर्न निस्केका छौँ।  हामी  तानाशाहीविरुद्व लाधिरहने छौँ।’

उनले सरकारलाई लिपुलेक र कालापानीमा जनताले सास्ती भोगिरहेको भन्दै त्यस ठाउँमा बर्दीधारी  पठाउन चुनौती समेत दिए। 

उनले सम्पूर्ण  विद्यार्थी साथीधरुलाई न्यायकालागि आवाज उठाउन समेत समेत गरे।  उनले भने , ‘ तपाईहरु आफ्नो अधिकारकालागि आवाज उठाउन नडराउनु। तपाईले उठाउँदा कसैले हस्तक्षेप गर्न पाउँदैन। म तपाईहरुको साथमा छु।  आफ्नो अधिकारको लागि आवाज उठाउँदा मर्न परेपनि तयार छु।  छातीमा गोली खान तयार छु’ 

कार्यक्रममा अखिल क्रान्तिकारीका  केन्द्रिय सचिव  शिशिर बस्याल र नेवि संघका नेता अनुराग शाह लगायतको सहभागिता रहेको थियो। 

दोस्रो टि-२० मा नेपाल ८ विकेटले विजयी 

काठमाडौँ । यूएईविरुद्धको टी-२० आई सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ८ विकेटको सहज जित निकालेको छ।

१ सय २९ रनको लक्ष्य पछ्याएको नेपालले १५ दशमलव ५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। जितका नायक बने कुशल भुर्तेल, जसले ५७ बलमा अविजित ८४ रन प्रहार गर्दै टोलीलाई सहज जित दिलाए। कप्तान दिपेन्द्र सिंह ऐरीले पनि १७ बलमा अविजित २३ रन बनाउँदै भुर्तेललाई साथ दिए।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ८ विकेट गुमाएर १२८ रन बनाएको थियो। यूएईका लागि आकाशदीप नाथले ४२ बलमा अविजित ५३ रन बनाए भने मुहम्मद अर्फानले ३२ र अदिप उस्मानीले ३० रनको योगदान दिए।

नेपालका बलरहरू प्रभावशाली देखिए। सन्दीप लामिछानेले ४ ओभरमा १ मेडन राख्दै मात्र ६ रन खर्चेर ३ विकेट लिए। हेमन्त धामीले २ विकेट झारे भने नन्दन यादव र शहाब आलमले समान १-१ विकेट लिए।

यसअघि सोमबार भएको पहिलो खेलमा भने नेपाल पराजित भएको थियो। वर्षाले प्रभावित भएर १० ओभरमा झारिएको खेलमा ७८ रनको लक्ष्य यूएईले ८ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्दै ६ विकेटको जित निकालेको थियो।

दोस्रो खेलमा शानदार जितसँगै नेपालले दुई खेलको सिरिज १-१ को बराबरी गरेको छ।

झुटैझुटको खातमाथि उभिएको सरकार सस्तो लोकप्रियताको बाटोमा

काठमाडौं। शक्तिशाली बालेन सरकार सस्तो लोकप्रियतामा रमाइरहेको छ। केही घटनाक्रमलाई आधार मान्दा सरकार परिणामभन्दा प्रचारमुखी बनेकाे देखिन्छ। 

 जस्ताे, हालै बालेन सरकारले निर्णय गरेको थियो-लाइसेन्स, राष्ट्रिय परिचयपत्र, पासपोर्टलगायतका कागजातहरू २४ घण्टाभित्र ‘नागरिक एप’ मार्फत उपलब्ध गराउने।

यो कदमलाई डिजिटल सुशासनको दिशामा ठूलो उपलब्धिका रूपमा प्रस्तुत गरियो। वास्तवमै यो कदमले डिजिटल प्रयोग र सरकारी कार्यालयबाट हुने सेवाको ढिलासुस्तीमा व्यापक परिवर्तन ल्याउन सक्छ।

तर, व्यावहारिक कार्यान्वयनमा सरकार निकै सुस्त देखिएको छ। सरकारले प्रमाणपत्र नै एपमा उपलब्ध भएको दाबी गरे पनि वास्तविकता फरक छ। एपमा पूर्ण प्रमाणपत्र देखिने होइन, क्यूआर कोड मात्र उपलब्ध हुन्छ, जसले कागजातको सम्पूर्ण जानकारी प्रत्यक्ष रूपमा प्रदान गर्दैन।

यस विषयमा सरकारका मन्त्री तथा सांसदहरूले सामाजिक सञ्जालमार्फत गरेको प्रचारप्रसारले झन् भ्रम फैलिएकाे छ। सस्तो लोकप्रियता हासिल गर्ने उद्देश्यले गरिएका यस्ता दाबीहरूले नागरिकलाई झुक्याउने मात्र होइन, अन्योलमा पार्ने काम भएकाे छ ।

अर्काे,  इरानी सेनाले पक्राउ गरेका नेपाली युवा अमृत झाकाे रिहा प्रकरण ।

झा हाल इरानी हिरासतमा छन्। मध्यपूर्व तनावका क्रममा उनी हिरासतमा पुगे। तर, सरकार यस्तो संवेदनशील विषयलाई मजाक बनाउँदै झा रिहा भए भन्दै भ्रामक प्रचारबाजीमा लाग्यो। कतिसम्म भने सरकारका परराष्ट्रमन्त्रीले शिशिर खनालले नै झा रिहा भएको भन्दै झुट बोले। कूटनीतिक मर्यादाको धज्जी उडाउँदै अति संवेदनशील विषयमा परराष्ट्रमन्त्रीले के पुष्टि गर्न खोजेका हुन्? प्रश्न उठेकाे छ ।

युद्धमा फसेको एक नेपाली नागरिकको उद्धार गर्ने कार्य सरकारका लागि निकै प्रशंसनीय हुन सक्थ्यो। युद्धकाे गम्भीरताका आयामहरूलाई ख्याल गर्दै सरकारले यस्ता विषयमा आफ्ना धारणा सार्वजनिक गर्नुपर्थ्यो। तर भइदियो ठ्याक्कै उल्टो।

परराष्ट्रमन्त्री शिशिर खनालले नै झा रिहा भएको विषयमा सामाजिक सञ्जाल फेसबुकमा जानकारी गराए। खनालले फेसबुकमा लेखेका थिए-‘इरानमा पक्राउ परेका अमृत झा रिहा भएका छन्। इरानमा हाम्रो मानार्थ महावाणिज्य दूतावास र कतार दूतावाससँग सम्पर्कमा छन्। हाम्रो टोलीले उहाँलाई इरानबाट बाहिर ल्याउन काम गरिरहेको छ।’

तर सोमबार झा जेलमै रहेको तथ्य बाहिरियो। उनकी दिदी पूजा झाले आफ्नो भाइ रिहा नभएको सञ्चारमाध्यमसँग बताइन्। यो कुरा झाले नै दुई दिनअघि फोनमा कुरा हुँदा परिवारलाई बताइएको बुझिएको छ।

यसबारे रास्वपा सांसद राजीव खत्रीले पनि झा रिहा भइसकेको भन्दै भ्रम बाँडेका छन्। उनले २ वैशाखमा नेपालका लागि इरानी अवैतनिक वाणिज्यदूत नरेश श्रेष्ठले फोन गरेर झा रिहा भएको जानकारी दिएको भन्दै फेसबुकमा पोस्ट गरेका छन्।

खत्रीले फेसबुकमा लेखेका छन्, ‘इरानी सेनाको कब्जामा रहेका धनुषाका युवा अमृत झा रिहा हुनु भएको जानकारी नेपालका लागि इरानी अवैतनिक वाणिज्यदूत नरेश श्रेष्ठले मलाई भर्खरै फोन गरेर जानकारी गराउनुभएको छ। कब्जामा भएको जानकारी पाएदेखि हामी अमृतकी दिदी पूजा र अवैतनिकदूत श्रेष्ठसँग सम्पर्कमा थियौं। अब अमृतलाई नेपाल कसरी पुर्‍याउने भन्ने तयारी भइरहेको पनि श्रेष्ठले जानकारी गराउनुभयो।’

सस्तो लोकप्रियताको लागि यस्तो गम्भीर विषयमा सरकारले मिडिया ट्रायल गर्दै बस्न मिल्छ? परराष्ट्र मन्त्रीजस्तो अति संवेदनशील पदमा बसेका व्यक्तिले किन नागरिक झुक्याउन खोजेका हुन्?

सरकार आफ्नै निर्णयहरूमा बारम्बार ढाकछोप गर्दै अघि बढिरहेको देखिन्छ। हतारमा निर्णय गर्ने र त्यसकै परिणामस्वरूप सरकार आफै समस्यामा फसिरहेको छ। यी गतिविधिहरूले नीतिगत स्थायित्व र विश्वसनीयतामाथि प्रश्न उठाउँछ।

यति मात्र हाेइन, सरकार गठन भएको पहिलो दिनमै सरकारले १३ चैतमा एउटा महत्वपूर्ण निर्णय गर्‍यो- प्रमाणपत्र तहमा सञ्चालन हुँदै आएका अतिरिक्त कक्षा (ट्युसन) अर्थात् ब्रिज कोर्स बन्द गर्ने।

यो निर्णयले शहरमा अध्ययनरत विद्यार्थीहरूका लागि केही हदसम्म सहजता ल्याउन सक्थ्यो। तर गाउँबाट उच्च शिक्षा हासिल गर्न शहर आउने विद्यार्थीहरूका लागि भने यो चुनौतीपूर्ण बन्ने देखिन्थ्यो। उनीहरू पहिले नै स्रोतसाधन र अवसरको अभावसँग जुधिरहेका हुन्छन्, त्यसमाथि ब्रिज कोर्स बन्द हुँदा शहरकेन्द्रित विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्न झनै गाह्रो पर्ने अवस्था सिर्जना हुन सक्थ्यो।

शिक्षा क्षेत्रबाट व्यापक आलोचना भएपछि सरकारले अर्को दिन नै आफ्नो निर्णय फिर्ता लिन बाध्य भयो।

सरकारको अब लाइन हैन अनलाइनबाटै काम भन्ने नाराको त्यस्तै बेहाल छ। सार्वजनिक संस्थामा काम गर्न जाँदा अनलाइनबाट काम गर्न मिल्ने भन्दै सरकारले सञ्चार माध्यममार्फत अर्को प्रचार गर्‍यो। तर व्यावहारिक कार्यान्वयनको पाटोमा सरकारको काम एकातिर, कुरा अर्कोतिर देखिन्छ।

एक त सरकारले भनेको अनलाइनको पहुँचमा सबै नागरिक छैनन्। अर्को, पहुँचमा भएका सबै नागरिकलाई डिजिटल काम गर्न आउँदैन। जान्ने मान्छेले पनि सेवा लिन ४/५ घण्टा लाइन बस्नुपर्ने अवस्थाको सिर्जना भइरहेको छ।

२२ चैतको मन्त्रिपरिषद् बैठकबाट सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गर्‍यो। पेट्रोल तथा डिजेलको भाउ आकाशिँदै जाँदा आइतबार बिदा दिएर खपत घटाउन यो निर्णय गरिएको बताइन्छ।

सरकार बनेको हप्ता दिनमै गरिएको उक्त निर्णयले सरकारी कार्यालय तथा सार्वजनिक संस्थानतिर सेवा प्रभावित बनेको गुनासाहरू सुनिन थालेका छन्। जसको मार सबैभन्दा बढी स्वास्थ्य संस्थातिर देखिन थालेको छ। आइतबार बिदा दिने निर्णयले सरकारी अस्पतालमा सामान्य सेवाका लागि पनि ४/५ घण्टासम्म लाइन बस्नुपरेकोमा बिरामीहरूले गुनासो गर्ने गरेका छन्।

सरकारका गृहमन्त्री सुधन गुरुङले झन् फेवातालको जग्गा प्रकरण देखी शेयर साझेदारी सम्मका प्रकरणमा जनतालाई उल्लु नै बनाइदिए। फेवाताल वरपरका अवैधानिक संरचना भत्काउने क्रममा तालको मुलघरमा नै गृहमन्त्रीको जग्गा रहेको विषय बाहिरियो।  त्यसपछि उनले त्यसलाई भाडाको जग्गा भएको करार गरे। त्यसको केही दिनपछि हदबन्दी भन्दा बाहिरको जग्गा उनको नाममा देखियो।  जुन सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणमा नै उल्लेख गरिएको छ।

उनले त्यसलाई पैतृक सम्पत्तिको हवाला दिए। एकजना व्यक्तिको नाममा ७० रोपनी अधिकतम् जग्गा हुने कानुनी व्यवस्था छ।  तर गृहमन्त्रीको सम्पत्ति विवरणमा २४१ रोपनी जग्गा छ। जुन जग्गालाई भागबण्डा गर्दा पनि ३ जनाभन्दा बढी व्यक्तिको नाममा ७० रोपनी हुन आउछ।  तर गुरुङले त्यो विषयलाई पनि सामसुम पारिदिए। 

गृहमन्त्री गुरुङ अहिले अर्को विवादमा फसेका छन्।  जुन विवादले उनको मन्त्री पद नै धरापमा छ। 

विवादित व्यापारी तथा बिचौलिया दीपक भट्ट समुहसँग शेयर लगानी रहेको तथ्य बाहिरिएपछि गुरुङ नैतिक संकटमा फसेका छन्। मन्त्री पद जोगाउन कै निम्ति उनले शेयर कित्ता ऋणमा लिएको स्पष्टिकरण दिए।  तर उनको सेयर साझेदारी रहेको लघु विमा कम्पनीमा उनी संस्थापक सेयर होल्डरको रुपमा देखिन्छन्। 

यो प्रकरणमा गृहमन्त्री गुरुङले नागरिकलाई मुर्ख बनाउने प्रयास गरिरहेका छन्। 

सरकारका यी निर्णयहरूमा जनस्तरको विश्वास घट्दै गएको र नीतिगत स्पष्टताको अभाव देखिँदै गएको छ।

सन्यास लिँदै डेभिड धवन

काठमाडौं। भर्खरै मात्र ‘है जवानी तो इश्क होना है’ फिल्मको टिजर सार्वजनिक गरिएको छ । निर्देशक डेभिड धवन निर्देशित यो फिल्म चाँडै नै हलमा रिलिज हुने तयारीमा छ । तर फिल्म रिलिज हुनुअघि नै धवनले आफ्नो करियरबारे दिएको प्रतिक्रिया सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

एएनआईसँगको अन्तर्वार्तामा डेभिड धवनले ‘है जवानी तो इश्क होना है’ आफ्नो अन्तिम फिल्म हुन सक्ने संकेत गरेका छन् ।

तीन दशकभन्दा बढी समयदेखि बलिउडमा सक्रिय धवनले हालसम्म ४५ भन्दा बढी फिल्म निर्देशन गरिसकेका छन् । उनले सञ्जय दत्त, अनिल कपूर, गोविन्दा र सलमान खानजस्ता चर्चित कलाकारसँग काम गरेका छन् । धवनले आफ्नो सफलताको श्रेय फिल्म निर्माता तथा निर्देशक मनमोहन देसाईलाई दिने गरेका छन् ।

यो फिल्म २०२६ मे २२ मा सिनेमा हलमा रिलिज हुने तय गरिएको छ । फिल्ममा वरुण धवन, मृणाल ठाकुर र पूजा हेगडे मुख्य भूमिकामा देखिनेछन् । वरुण धवन र डेभिड धवनको यो तेस्रो सहकार्य हो । यसअघि उनीहरूले ‘मैं तेरा हीरो’ र ‘जुडवा २’ मा सँगै काम गरिसकेका छन् ।

थुनुवा कक्षमा झुन्डिएका युवकको उपचारका क्रममा मृत्यु

सिन्धुली। इलाका प्रहरी कार्यालय खुर्कोटको थुनुवा कक्षमा झुन्डिएको अवस्थामा फेला परेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका-३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विक थुनुवा कक्षको भेन्टिलेसनमा आफ्नो सर्टको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका थिए ।

उनलाई तत्काल उद्धार गरी सुनकोशी सामुदायिक अस्पताल पुर्‍याइएको थियो । प्राथमिक उपचारपछि थप उपचारका लागि सिन्धुली अस्पताल पठाइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

घटनाका बेला थुनुवा कक्षमा विक एक्लै रहेको प्रहरीले जनाएको छ ।

मृतक विक काठमाडौंमा सवारी चालकको रूपमा कार्यरत थिए । उनले खोटाङकी १६ वर्षीया युवतीसँग गत २८ चैतमा प्रेम विवाह गरेका थिए । विवाहपछि युवती नाबालिका रहेको दाबी गर्दै परिवारले जबरजस्ती करणीको आरोपमा ललितपुरको सातदोबाटो प्रहरीमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा उनलाई थप अनुसन्धानका लागि ३ वैशाखमा इलाका प्रहरी कार्यालय खुर्कोट पठाइएको थियो ।

घटनापछि मृतकका आफन्त तथा स्थानीयवासीले निष्पक्ष र पारदर्शी छानबिनको माग गर्दै इलाका प्रहरी कार्यालय खुर्कोटमा भेला भएर प्रदर्शन गरेका छन् ।

प्रहरीका अनुसार घटनाको अनुसन्धानका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलको संयोजकत्वमा प्रहरी प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासहितको समिति गठन गरिएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ।

अर्थमन्त्री र अमेरिकाका सहायक विदेश मन्त्रीबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री एप पल कपुरबीच भेटवार्ता भएको छ। मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको हो।

भेटका क्रममा हालै सम्पन्न निर्वाचनपछि गठित वर्तमान सरकार र अमेरिकी सरकारबीच सम्भावित साझेदारीका क्षेत्र, लगानी प्रवर्द्धन तथा द्विपक्षीय सहयोगका विषयमा गहन छलफल भएको छ।

छलफलका क्रममा अर्थमन्त्री डा. वाग्लेले सरकारको मुख्य प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरीय भौतिक पूर्वाधार निर्माण रहेको बताए। उनले पुराना तथा अनावश्यक कानुन खारेज गर्दै नयाँ कानुन निर्माणमार्फत लगानीमैत्री वातावरण सिर्जना गर्नु सरकारको प्राथमिकतामा रहेको स्पष्ट पारे।

साथै, उनले अमेरिकी तथा गैरआवासीय नेपाली लगानीकर्ताबाट विशेषगरी पर्यटन, स्वच्छ ऊर्जा र सूचना प्रविधि क्षेत्रमा लगानीको अपेक्षा गरिएको उल्लेख गरे।

अमेरिकी सहायक विदेशमन्त्री कपुरले नेपाल र अमेरिकाबीचको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे। उनले हालै सम्पन्न शान्तिपूर्ण निर्वाचनपछि बनेको सरकारले अघि सारेका सुधार कार्यक्रमहरूलाई अमेरिकी राष्ट्रपति र अमेरिकी जनताले सकारात्मक रूपमा हेरिरहेको पनि बताए।

मदनकृष्णलाई ‘ललित रत्न’ उपाधिले सम्मान

काठमाडौं। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई जन्मदिनको अवसरमा ‘ललित रत्न’ उपाधिले सम्मान गरिएको छ । ललितपुर महानगरपालिका-१६ वडा कलाकार समितिले पाटन दरबार क्षेत्रमा आयोजना गरेको नागरिक अभिनन्दन तथा सांस्कृतिक-सांगीतिक कार्यक्रममा उनलाई उक्त उपाधि प्रदान गरिएको हो ।

अक्षय तृतीयाको दिन आयोजित कार्यक्रममा विभिन्न संघ-संस्थाहरूको सहभागितामा कलाकार श्रेष्ठलाई परम्परागत नेवारी सांस्कृतिक शैलीमा सम्मान गरिएको थियो । धाःबाजा, चर्या नृत्य तथा परम्परागत सगुनसहित स्वागत गरिएको कार्यक्रममा सयौँ कलाकार, स्थानीयवासी र संस्थागत प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मदनकृष्ण श्रेष्ठका चर्चित गीतहरू समेत प्रस्तुत गरिएको थियो । उनले ‘अरबौं मान्छेहरूमा’, ‘फुलबुट्टे साडी’, ‘खोलावारी खोलापारी’ लगायत गीतहरू प्रत्यक्ष गाएका थिए । साथै, नेपालभाषाका गीतहरूमा पनि प्रस्तुति दिँदै दर्शकलाई मनोरञ्जन दिएका थिए ।

ललितपुर महानगरपालिका-१६ का वडा अध्यक्ष निर्मलरत्न शाक्य, कलाकार समितिका पदाधिकारीहरू तथा परिवारजनको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । बिहान १० बजेदेखि सुरु भएको कार्यक्रममा रक्तदान कार्यक्रमसमेत गरिएको थियो ।

आयोजक ललितपुर महानगरपालिका-१६ वडा कलाकार समितिले स्थानीय स्तरमै कलाकारको पहिचान, नवप्रतिभा प्रोत्साहन तथा वरिष्ठ कलाकारहरूको सम्मानलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

अनिल शाहकाे कप्तानीमा ओमानविरुद्ध एक दिवसीय खेल्ने नेपाल ‘ए’को अन्तिम टोली घोषणा

काठमाडौं। ओमानसँगको एक दिवसीय खेलका लागि नेपाल ‘ए’को अन्तिम टोलीको घोषणा भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार अनिल कुमार शाहको कप्तानीमा ओमानसँग खेल्ने अन्तिम टोलीको घोषणा गरेको हो।

ओमानसँग नेपाली टोलीले बुधबार र शुक्रबार दुई एक दिवसीय खेल्नेछ। यूएईसँगको टी-२० खेल्ने टोलीबाट खेलाडी समेट्दै नेपाल ए टोलीको घोषणा भएको हो।

नेपाल ए टोली

अनिल कुमार शाह (कप्तान), तृतराज दास, देव खनाल, इशान पाण्डे, सन्दीप जोरा, कुशल मल्ल, सन्तोष यादव, रासिद खान, शाहब आलम, हेमन्त धामी, रिजन ढकाल, आकाश चन्द, युवराज खत्री, शेर मल्ल

यूएईविरुद्ध नेपालको कसिलो बलिङ, यूएईको ६ विकेट गुम्यो

काठमाडौं। टस जितेर यूएईविरुद्ध फिल्डिङ गरिरहेको नेपालले कसिलो बलिङ गरिरहेको छ । ताजा अवस्थामा १३ दशमलव ३ ओभरको खेल सकिँदासम्म यूएईले ६ विकेट गुमाउँदै केबल ८० रन बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा नेपालका हेमन्त धामीले दुई विकेट लिएका छन् । त्यसैगरी, सन्दीप लामिछाने, शाहब आलम, नन्दन यादवले समान एक विकेट लिएका छन् ।

यूएईका अदीब उस्मानीले सर्वाधिक ३० रन बनाएका छन् ।

फिल्म ‘राम नाम सत्य’ले कति कमायो ?

काठमाडौं। फिल्म राम नाम सत्य ले प्रदर्शनको केही दिनमै बक्स अफिसमा उल्लेखनीय कमाई गरेको छ ।

चैत्र २७ गतेदेखि प्रदर्शनमा आएको उक्त फिल्मले सोमबारसम्म करिब ३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्शन गरेको वितरक गोविन्द शाहीले जानकारी दिएका छन् ।

यसअघि शनिबारसम्म विकास बोर्डको तथ्यांकअनुसार फिल्मको कमाई करिब २ करोड ८० लाख रुपैयाँ रहेको थियो । केही हलहरूको व्यापार विवरण बोर्डमा समावेश नहुँदा वितरकको हिसाबमा कमाई अझै बढी देखिएको बताइएको छ ।

निर्माण पक्षका अनुसार फिल्मले अमेरिकाबाहेक अन्य विदेशी बजारबाट करिब ७० लाख रुपैयाँ आम्दानी गरिसकेको छ । अमेरिकाका विभिन्न शहरमा अप्रिल २४ देखि २०० शोसहित प्रदर्शन सुरु हुने तयारी गरिएको छ । त्यहाँ फिल्मलाई शेयर प्रतिशतमा बिक्री गरिएको हुँदा थप आम्दानी हुने अपेक्षा गरिएको छ ।

निर्देशक माइकल चन्दका अनुसार डिजिटल प्लेटफर्म ओएसआर डिजिटल मार्फत फिल्मको डिजिटल अधिकार ७२ लाख रुपैयाँमा बिक्री गरिएको छ, जसले निर्माण पक्षलाई आर्थिक रूपमा सहयोग पुगेको छ ।

करिब ३ करोड रुपैयाँ बजेटमा बनेको फिल्मले अहिलेको कमाईलाई हेर्दा लगानी सुरक्षित गर्ने दिशातर्फ अग्रसर देखिएको निर्माण पक्षको भनाइ छ ।

स्वेता विमली र उपेन्द्र शाहीको निर्माणमा तयार भएको यस फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, खुशी कार्की, सुनील थापा र प्रशान्त ताम्राकार लगायत कलाकारहरूको अभिनय रहेको छ ।

पछिल्लो समय नेपाली फिल्महरूको व्यापार सन्तोषजनक नरहेको अवस्थामा यस फिल्मले भने बक्स अफिसमा सकारात्मक संकेत देखाएको निर्माण पक्षले जनाएको छ ।