`

मकवानपुरमा ३५ प्रतिशत मतदान सम्पन्न

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा दिउँसो २  बजेसम्म ३५ प्रतिशतभन्दा बढी मतदान भएको छ ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालका अनुसार हालसम्म जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मकवानपुरमा ३ लाख १५ हजार ३ सय ३४ जना मतदाता छन् ।

मुगुमा दिउँसो १ बजेसम्म ४३ प्रतिशत मतदान

काठमाडौं प्रतिनिधिसभा सदस्यका लागि आज जारी मतदानमा मुगु जिल्लामा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।

जसमा महिला आठ हजार ९७ र पुरुष सात हजार ६०८ गरी कूल १५ हजार ७०५ जनाले मतदान गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

मुगुमा बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ। मुगुमा कूल ३६ हजार ३१ मतदाता छन्।

रामेछापमा १ बजेसम्म ४७ हजार मत खस्यो

काठमाडौँ । रामेछापमा दिउँसो १ बजेसम्म ४७ हजार ४४७ मत खसेको छ। बिहीबार प्रतिनिधि सभा निर्वाचनमा उक्त संख्यामा मत खसेको हो । 

जसमध्ये २६ हजार ८३३ महिला र २० हजार ५६४ पुरुषले मतदान गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा १ लाख ८७ हजार ९५२ मतदाता रहेका छन्। 

‌ओलीले भाेट दिएपछि महेश बस्नेतले आफूलाई ठाने भाग्यमानी (भिडियाे)

काठमाडौं । नेकपा एमालेका सचिव तथा भक्तपुर-२ का उम्मेदवार महेश बस्नेतले आफ्ना अध्यक्ष केपी शर्मा ओलीप्रति गाैरव प्रकट गर्दै आफूलाई भाग्यमानी ठानेका छन् ।

ओलीले बस्नेतलाई बालकाेटस्थित महेन्द्र शान्ति विद्यालय पुगेर मतदान गरेका थिए । मतदानपछि बस्नेतले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आएर आफूलाई मतदान गर्नु गर्वको विषय भएको बताए ।

‘मेरो लागि त गौरवको कुरा हो। मेरो पार्टीका अध्यक्ष, पूर्वप्रधानमन्त्री र भावी प्रधानमन्त्रीका रूपमा पार्टीले निर्णय गरेको व्यक्तित्वले मेरो निर्वाचन क्षेत्रमा आएर मलाई मतदान गर्ने जुन सौभाग्य मैले प्राप्त गरेको छु, यो मेरो लागि एउटा गौरवको विषय हो,’ उनले भने।

बस्नेतले ओलीलाई नेपाली राजनीतिका ‘आइकन’का रूपमा चित्रण गर्दै उनको लोकप्रियता र आकर्षण अझै कायम रहेको दाबी गरे। ‘केपी शर्मा ओलीजी नेपालको राजनीतिका एउटा आइकन हो। निकै आकर्षणको केन्द्र हो उहाँ। उहाँलाई हेर्न आम मतदाता निकै धेरै आकर्षित छन् र मिडियाहरूको पनि निकै ठूलो चासो छ,’ उनले बताए।

उनले कसैले नचाहँदैमा ओलीको सानमान र क्रेज नघट्ने दाबीसमेत गरे।

‘केपी ओली कसैले नचाहँदैमा उहाँको सानमान र क्रेज घट्छ भन्ने मलाई लाग्दैन। उहाँ नेपाली राजनीतिका समकालीन नेतामध्ये सबैभन्दा उत्कृष्ट, चर्चित र राजनेताको छवि भएका नेता हुनुहुन्छ,’ बस्नेतले ओलीकाे बखान गरे ।

 

१ बजेसम्म खस्यो ४४ लाख मत

काठमाडौं । बिहीबार दिउँसो १ बजेसम्म देशभरि ४४ लाख मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले जारी छ ।

१ बजेसम्मको अवधिमा ४४ लाख ५५ हजार ७९० मत खसेको हो ।

अहिलेसम्म ३५ लाख मत खस्यो

काठमाडौं । दिउसो १२ बजेसम्म देशभर ३५ लाख भन्दा बढी मतदाताले मतदान गरेका छन्। 

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म २० प्रतिशत मत खसेको निवार्चन आयोगले जनाएको छ ।

सबै जिल्लामा उत्साहजनक मतदान भइरहे पनि केहि जिल्लामा तनावग्रस्त भएर केहि बेरका लागि मतदान स्थगित गरिएको छ ।

…जहाँ हातपातपछि मतपत्र नै गायब भयाे, धुइँधुइँती खाेज्दा पनि परेन फेला

काठमाडौं । हरेक निर्वाचनमा लफडा भइरहने जिल्ला हाे- दाेलखा । बुथ कब्जा त कहिले मतपत्र कब्जा हुन्छ । कुटपिट त सामान्य नै भएकाे छ ।

यी सबै स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनकाे मान्यताविपरीतका कार्य हुन् । आपराधिक गतिविधि हुन् । यसपटक पनि दाेहाेरिएकाे छ ।

दोलखाको तामाकोशी गाउँपालिका-४ मा त्यस्ताे भएकाे हाे । त्यहाँ आज बिहानै मतदानको क्रममा विवाद बढेपछि दलगत कार्यकर्ताहरबिच झडप भयाे ।

उनीहरूले कर्मचारीमाथि हातपातको समेत प्रयास गरे । यसपछि प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको थियो । तर, त्यहीबेला केही मतपत्र गायब भयाे ।

याे समाचार तयार पार्दासम्म मतपत्र फेला परेकाे छैन । मतपत्र खाेजीकाे क्रम भने जारी छ ।

दाेलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार १० वटा मतपत्र फेला परेकाे छैन । हराएकाे मतपत्र सङ्ख्या भने ५५ वटा हाे । ४४ वटा मात्रै फेला परेकाे आलेले बताए ।

काठमाडौंमा मतदान गरेर सर्लाही पुगे गगन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा काठमाडौंमा मतदान गरेर सर्लाही पुगेका छन् । सभापति थापा सर्लाही-४ बाट प्रतिनिधिसभा उम्मेदवार छन् ।

जहाँ थापा र रास्वपा उम्मेदवार अमरेशकुमार सिंहबीचमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

भरसक बहुमत ल्याउँछ एमालेले, नभए प्रमुख पार्टी हुन्छ : ओली (भिडियाे)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले भरसक बहुमत ल्याउने बताएका छन् । नभए पनि एमाले पहिलो बन्ने दाबी गरे ।

भक्तपुर–२ मा आफ्ना पार्टीका उम्मेदवार महेश बस्नेतलाई मतदानपछि पत्रकारहरूसँग उनले भने, ‘भरसक बहुमत ल्याउँछ एमालेले । कथंकदाचित ल्याएन भने प्रमुख पार्टीको रूपमा आउँछ ।’

ओली झापा–५ का उम्मेदवारसमेत हुन् । उनी आजै झापा जाने तयारी छ ।

स्याङ्जाकाे एक मतदान केन्द्रमा मतदान स्थगित

काठमाडौं। मतदान अधिकृतले प्रत्यक्षतर्फकाे मतपत्रमा हस्ताक्षर नगरेकाे फेला परेपछि स्याङ्जाको एक मतदानस्थलमा मतदान स्थगित भएको छ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को वालिङ नगरपालिका-१० मा रहेको मतदानस्थल बालज्योति आधारभूत विद्यालय मदीखोलामा मतदान स्थगित भएको हो।

बिहीबार बिहान साढे ११ बजेदेखि नै मतदान स्थगित भएको हाे ।

 

करिब ३२ लाखले मतदान गरे, देशभर उत्साहजनक मतदान जारी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मतदान भइरहेकाे छ । बिहान ७ बजेदेखि भइरहेकाे मतदान बेलुकी ५ बजेसम्म जारी हुनेछ ।

अपरान्ह १२ बजेसम्म देशभर १८ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७३६ मत खसेको छ ।

आयोगले सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनक मतदान भइरहेको जनाएको छ ।

निर्वाचनमा प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।

देशभर अहिलेसम्म खस्यो करिब ३२ लाख मत

काठमाडौं । दिउसो १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७ सय ३६ मत खसेको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म १८ प्रतिशत मत खसेको निवार्चन आयोगले जनाएको छ ।

सबै जिल्लामा उत्साहजनक मतदान भइरहे पनि केहि जिल्लामा तनावग्रस्त भएर केहि बेरका लागि मतदान स्थगित गरिएको छ ।

सिरहामा चार घण्टामा ३० प्रतिशत मतदान

सिरहा ।  सिरहामा मतदान सुरु भएको चार घण्टाभित्रै करिब ३० प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालय सिरहाका प्रमुख राजन श्रीवास्तवका अनुसार बिहान ११ बजेसम्म जिल्लाभर ३० प्रतिशतसम्म मतदान भएको छ ।

जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा भइरहेको निर्वाचन कार्यालयले जनाएको  छ। मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ, भने सुरक्षाकर्मीको व्यवस्था पनि कडा पारिएको छ ।

एमाले अध्यक्ष ओलीले गरे मतदान

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्खरै मतदान गरेका छन्।

भक्तपुर क्षेत्र नम्बर २ मा पर्ने सूर्यविनायक नगरपालिका बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रबाट उनले भर्खरै मतदान गरेका हुन्।

ओली प्रतिनिधिसभा निर्वाचनमा झापा ५ बाट उम्मेदवार छन्।

ओली झापा नजाने

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा नजाने भएका छन्।

आफूले उम्मेदवारी दिएको झापा ५ मा जाने कार्यक्रम ओलीले स्थगित गरेका हुन्।

भक्तपुर क्षेत्र नम्बर २मा पर्ने सूर्यविनायक नगरपालिका बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रबाट उनले भर्खरै मतदान गरेका छन्।

काठमाडौंमा मतदानपछि उनी उम्मेदवारी दिएको झापा ५ जाने र विभिन्न मतदान केन्द्र पुग्ने कार्यक्रम थियो।

झापा-५ मा खस्यो ४५ प्रतिशत मत

दमक । झापा क्षेत्र नम्बर-५ मा ४५ प्रतिशत मत खसेको छ ।

झापा-५ का मतदान अधिकृतका अनुसार मध्याह्न १२ बजेसम्म ४५ प्रतिशत मत खसेको हो ।

यो क्षेत्रमा १ लाख ६३ हजर ३ सय ७९ मतदाता रहेका छन् । जसमा पुरुष मतदाता ८१ हजार ८१, महिला मतदाता  ८२ हजार २९६ र अन्य २ जना मतदाता छन् ।

११ बजेसम्म देशभरि खस्यो १०.१८ प्रतिशत मत

काठमाडौं । बिहान ११ बजेसम्म देशभरि १०.१८ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान ११:०० बजेसम्म देशभरि १९ लाख २३ हजार ८२४ मत गरेको छ । यो कुल मतदाताको १०.१८ प्रतिशत हो ।

सुर्खेत कारागारमा ८८ मत खस्यो

सुर्खेत । सुर्खेत कारागारमा मतदान सकिएको छ ।  प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार सुर्खेत कारागारमा ८८ मत खसेको छ ।

बिहान ७ बजेबाट मतदान सुरु भएको थियो । सुर्खेत कारागारमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ। 

१०३ जना मतदाता रहेको भनिए पनि केही कैदी स्थान्तरण भएकाले ८८ मत मात्रै खसेको गुरुङले बताए ।

पाका मतदाताले भने- ओलीलाई मत लाउनुपर्छ, अरुकाे काम छैन (भिडियाे)

काठमाडौं । यसपटकको प्रतिनिधिसभा निर्वाचनमा देशकै ध्यान खिचेको निर्वाचन क्षेत्र झापा– ५ हो ।

विगतमा ६ पटक निर्वाचन जितेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसमेत उम्मेदवार रहेको यहाँ पनि बिहानैदेखि शान्तिपूूर्ण मतदान भइरहेको छ ।

जेन–जीदेखि पाका उमेरका मतदाताहरू मताधिकार प्रकट गर्न मतदान केन्द्रहरूमा गइरहेका छन् ।

मतदान गोप्य हुन्छ तर मतदानपछि एक जना मतदाताले निर्धक्कपूर्वक नेपालवाट एचडीसँग भने, ‘केपीलाई मतदान गर्नुपर्छ तर त्यसै माहोल बनिहाल्छ नि ।’

हामीले उनलाई निर्वाचनको माहोल सोधेका थियौँ तर उनले भने मतदान कसलाई गरेको भनेर खुलाए ।

उनले ओलीबाहेकको ‘काम नभएको’ भन्दै अविश्वास प्रकट गरे ।

रास्वपा उम्मेदवार अमरेशकाे गृहपालिका बलरामा विवाद, राेकियाे मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहको गृहपालिकामा विवाद भएको छ । विवादपछि मतदान राेकिएकाे छ ।

दलका प्रतिनिधिहरूबीच नै विवाद भएछि सर्लाहीको बलरा नगरपालिका- ४ स्थित श्री प्राथमिक विद्यालय रहेको मतदान केन्द्रमा रोकिएको हो ।

मतदान रोकिएपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख पुगेर विवाद मिलाउने प्रयास गरेका छन् ।

 

अनुमति नलिएर चढेपछि फर्किएको थियो बालेन चढेको हेलिकप्टर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि फर्काइएको खुलासा भएको छ । 

शाह काठमाडौँमा मतदान गरेर हेली एभरेस्टको हेलिकप्टर चढेर झापा गएका थिए । उनी चढेर गएको हेलिकप्टर ल्यान्ड नगरी काठमाडौँको त्रिभुवन विमानस्थलमा फर्किएको थियो । 

त्रिभुवन विमानस्थल उच्च स्रोतका अनुसार उनले निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकप्टर लिएर गएपछि ल्याण्ड गर्न नदिइएको हो ।

हवाई फायरपछि दाेलखाकाे गाेल्मेश्वरमा राेकिएकाे मतदान सुचारु गर्ने सर्वदलीय सहमति

काठमाडौं । बिहान हवाई फायर भएपछि दोलखाको तामाकोसी गाउँपालिका-४ मा पर्ने गोल्मेश्वर मावि मतदानस्थलमा रोकिएको मतदान सुचारु गर्ने सहमति भएको छ ।

याे सहमति सर्वदलीय बैठकपछि गरिएकाे हाे । मतदान स्थलमा खटिएका कर्मचारीलाई एउटा समूहले हातपात गर्न खोजेपछि तनाव भएकाे थियाे ।

त्यस क्रममा प्रहरीले १ राउन्ड हवाई फायर गरेको थियो ।

नारायणकाजी श्रेष्ठले मतदान नगर्ने, के हाे कारण ?

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सर्लाही-३ का उम्मेदवार नारायणकाजी श्रेष्ठले मतदान नगर्ने भएका छन् ।

उनकाे मतदाता नामावली गृहजिल्ला गाेरखामा छ । उम्मेदवार रहेकाे जिल्ला सर्लाहीमै रहेका कारण उनले गाेरखाकाे सिरानचाेक-८ काे जाैबारी मतदान केन्द्र गएर मतदान नगर्ने भएका हुन् ।

 

सर्लाही कारागारमा ३४ कैदीबन्दीले गरे मतदान

सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका-९ स्थित सर्लाही कारागारमा कैदीबन्दीका लागि गरिएको मतदान सम्पन्न भएको छ।

कारागारमा रहेका कैदीबन्दीमध्ये मतदाता नामावलीमा समावेश ३४ जनाले मतदान गरेका छन्। मतदान शतप्रतिशत खसेको सहायक मतदान अधिकृत रिन्कु महतोले जानकारी दिए।

निर्वाचनलाई व्यवस्थित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाइएको थियो। निर्धारित समयमै मतदान प्रक्रिया सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 

ओखलढुंगाको मानेभञ्ज्याङ-७ मा भयो निर्वाचन बहिष्कार

काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले मतदान बहिष्कार गरेका छन् । प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रान्तीका अनुसार, बिहान १० बजेसम्म कोही पनि मतदाताले मतदान नगरेको जानकारी दिए ।

उनका अनुसार, मानेभन्ज्याङ–७ को शहीद स्मृति आधारभूत विद्यालयमा रहेको केन्द्रमा कोही पनि मतदाता मतदानमा सहभागी नभएका हुन् ।

६५ प्रतिशत मत खस्ने आयोगको अनुमान

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिदै उनले ७७ वटै जिल्लामा आममतदाताको उत्साहपूर्वक सहभागितामा मतदान भइरहेको उनले बताए ।

उनले सबै सरोकारवाला मतदाता, राजनीतिक दल र उम्मेदवारलाई उत्साहजनक र शान्तिपूर्ण मतदानमा सहयोग गर्न आह्वान गरे । मतदान सम्पन्न भएलगतै मतपेटिका सङ्कलनपछि मतगणना गरिने उनले जानकारी दिए ।

मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने प्रयास आयोगको रहेको उनले बताए । साथै उनले मतदानमा युवाहरुको उत्साहका आधारमा ६५ प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरिएकोे बताए ।

निर्वाचन जितिहालिन्छ, चिन्ता लिनु पर्दैन- काङ्‍ग्रेस उम्मेदवार सुनिल शर्मा (भिडियाे)

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्माले जित निश्चित भएको दाबी गरेका छन् । जितका लागि चिन्ता नभएको उनले बताए ।

‘जित त निश्चितै छ नि । भोट जनताले दिने हो, उम्मेदवार म हुँ । अनि कसले जित्छ त ? यहाँका जनताले सबैले मायाँ गर्नुभएको छ, जितिहालिन्छ, चिन्ता गर्नु पर्दैन,’ उनले मतदानपछि भने ।

उनले कांग्रेसले देशभरमा ७० प्रतिशत मत प्राप्त गर्ने पनि दाबी गरे । उनी मोरङ–३ मा कांग्रेसबाट उम्मेदवार छन् ।

यसअघि पनि उनी त्यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित थिए ।\

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गरे मतदान

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गौर वडा नम्बर २ स्थित जानकी प्रावि केन्द्रबाट मतदान गरेका छन् ।

नेपाल रौटहट–१ का उम्मेदवार पनि हुन् । ४ निर्वाचन क्षेत्र रहेको रौटहटमा २७७ मतदानस्थल र ५४१ वटा मतदान केन्द्र कायम छन् । सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।

झापा–५ का मतदाताहरूले गाैरवका साथ भने– सूर्य चिह्नमा भोट हाल्यौँ, ओलीको विकल्प खोज्दैनौँ (भिडियाे)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार बनेको झापा–५ का मतदाताहरूले खुलेरै ‘सूर्य चिह्न’मा मतदान गरेका बताएका छन् ।

‘सूर्य चिह्न’ एमालेको चुनाव चिह्न हो । कुनैबेला झापा–५ मा सडक पूर्वाधार नभएकोदेखि विकासमा धेरै पछाडि परेकोमा ओलीकै कारण विकासले कोल्टे फेरको भन्दै मतदाताहरूले मतदानपछि सूर्य चिह्नमा मतदान गरेर ओलीलाई जिताउन चाहेको बताएका छन् ।

विकास र समृद्धिमा ओलीको देन उल्लेखनीय रहेको भन्दै उनीहरूले यसपटक ओलीको विकल्प खोज्न नचाहेको स्पष्ट पारे ।

ओलीसँग प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन्द्र शाह (बालेन), नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रञ्जि तामाङ, कांग्रेसबाट मन्दरा चिमरिया, श्रम संस्कृति पार्टीबाट समीर तामाङ चुनावी प्रतिस्पर्धामा छन् ।

एमाले उम्मेदवार नेम्वाङले गरे मतदान

काठमाडौँ । इलाम–२ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन् ।

उनले मरब क्याम्पस इलाम मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

झापा-५ मा खस्याे २५ प्रतिशत मत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेकाे झापा-५ मा २५ प्रतिशत मतदाताले मतदान गरेका छन् ।

याे साढे १० बजेसम्मकाे विवरण हाे ।  त्यहाँ १ लाख ६३ हजार ३७९ मतदाता छन् ।

चुनाव क्षेत्रभरी शान्तिपूर्ण रुपमा मतदान भइरहेकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

दार्चुलाका दुई मतदान केन्द्रमा भोट हाल्न आएनन् मतदाता

काठमाडौं । दार्चुलाका दुई मतदान केन्द्रमा अहिलेसम्म कोही पनि मतदान गर्न आएका छैनन्।अपि हिमाल गाउँपालिका–३ को दुधिला आधारभूत विद्यालय र नौगाडको गौरीशंकर विद्यालयमा मतदानका लागि कोही पनि नगएका हुन्। 

दुधिला आधारभूत विद्यालयमा मत खसाल्ने मतदाताको संख्या  ६०२ छ भने  गौरीशंकर मावि नागुमा २४६ जना मतदाता छन् । 

२०७४ मा वडा भएको वडा विभाजनमा असन्तुष्ट व्यक्त गर्दै स्थानयीहरूले मतदान बहिष्कार गर्दै आएका छन् ।

१० बजेसम्म खस्यो १० लाख बढी मत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार (फागुन २१) मतदान जारी छ । बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको थियो ।

बिहान १० बजेसम्म देशभर १० लाखभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ । यति बेलासम्म १० लाख ६५ हजार १२० मत खसेको आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईले जानकारी दिए ।

यो करिब ६ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । यसपालिको निवार्चनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।

देशभर १० बजेसम्ममा ६ प्रतिशत मत खस्याे – निर्वाचन आयाेग

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज सबै केन्द्रमा निर्बाध मतदान भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान १० बजेसम्म देशभर १० लाख ६५ हजार १२० मत (करिब ६ प्रतिशत) मत खसेको छ।

आयोगका अनुसार अपराह्न पाँच बजेसम्म मतदान गर्न पाइने छ।

दोलखाको मालु मतदान केन्द्रमा केही बेरका लागि स्थगित भयो मतदान

दोलखा। दोलखाको मालु मतदान केन्द्रमा केहि बेरका लागि मतदान स्थगित गरिएको छ ।

नेपाली कांग्रेस र नेकपा मिलेर बुथ कब्जा गरेपछि तनाव सिर्जना भएकाे थियाे । साेहि कारण अहिले मतदान स्थगित गरिएको छ । यसको विरोधमा एमाले र रास्वपाले नाराबाजी गरेका गरिहरेका छन् ।

बुथ कब्जाको प्रयासपछि दोलखाको मालु मतदान केन्द्रमा हवाइफायर

काठमाडौं। दोलखाको मतदान स्थलमा विवाद हुँदा प्रहरीले हवाइ फायर गरेको छ।

बिहीबार बिहान ७ बजेदेखि सुरू भएको प्रतिनिधि सभा निर्वाचनको क्रममा तामाकोशी गाउँपालिका-४ को मालु मतदानस्थलमा विवाद भएपछि हवाइ फायर गरिएको हो।

पाँचथरमा मतदान सुरु भएकाे अढाई घण्टामा ४ प्रतिशत मतदान

काठमाडौं । देशकाे पूर्वी पहाडी जिल्ला पाँचथरमा मतदान सुरु भएकाे अढाई घण्टामा चार प्रतितश मात्रै मत खसेकाे छ ।

याे भनेकाे कुल एक लाख ४३ हजार ४०८ जना रहेकाे पाँचथरमा ९२९ जनाले मात्रै मतदान गरेका हुन् । जिल्ला निर्वाचन कार्यालय पाँचथरले अब भने मतदान धेरै हुने जनाएकाे छ ।

उसाे त पाँचथरमा हरेक निर्वाचनमा न्यून मतदान हुने गरेकाे छ ।

२०७९ को निर्वाचनमा पनि प्रत्यक्षतर्फ ५३ र समानुपातिकतर्फ ५४ प्रतिशत मात्रै मत खसेको थियो ।

 

 

ओखलढुङ्‍गाकाे मानेभञ्‍ज्‍याङ-७ मा मतदान बहिस्कार, यस्ताे रहेछ कारण

काठमाडौं । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-७ का मतदाताहरुले  मतदान गर्न अस्वीकार गरेका छन्।

त्यहाँका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रान्तीका अनुसार उनीहरुले प्रादेशिक अस्पताल निर्माणको माग सम्बोधन नभएको भन्दै मतदान गर्न सामूहिकरुपमा अस्वीकार गरेका हुन् ।

त्यहाँ ७०१ जना मतदाता छन् । तर अहिलेसम्म कसैले पनि मत खसालेका छैनन् ।

त्यहाँका  स्थानीयले पहिले नै प्रदेश सरकारलाई अस्पताल बनाउने प्रयोजनका लागि १६५ रोपनीभन्दा बढी जग्गा उपलब्ध गराएका थिए। यद्यपि अस्पताल निर्माण प्रक्रिया सुरु नभएपछि उनीहरु रुष्ट थिए ।

बालेन बोकेर झापा हिनेको हेलिकप्टर काठमाडौं फर्कियो

काठमाडौं।  झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको छ।

बिहीबार बिहान करिब साढे ९ बजे काठमाडौंबाट उडेको हेलि एभरेष्ट को 9N-AOB कलसाइन भएको हेलिकोप्टर झापातर्फ प्रस्थान गरेको थियो। तर, निर्धारित गन्तव्यमा अवतरण नगरी पुनः काठमाडौं फर्किएको स्रोतले जनाएको छ।

यसअघि काठमाडौंमा मतदान सम्पन्न गरेपछि बालेन चार्टर उडानमार्फत झापा जाने तयारीमा रहेको जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीले दिएका थिए। सो दिन काठमाडौंबाट झापाका लागि कुनै नियमित हवाई उडान नरहेकाले चार्टरमार्फत यात्रा व्यवस्थापन गरिएको थियो। यसमा बालेनसहित ५ यात्रु थिए ।

कसैकाे बहुमत आउने देख्दिनँ तर नेकपाकाे राम्रै आउँछ- प्रचण्ड (भिडियो)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा रुकुमपूर्वका प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनबाट कसैले बहमुत प्राप्त नगर्ने दाबी गरेका छन् ।

निर्वाचन प्रणालीका कारण पनि बहुमत आउने स्थिति नभएको उनको भनाइ छ । यद्यपि, नेकपाको मत परिणाम राम्रै आउने उनले विश्वास व्यक्त गरे ।

विशेष परिस्थितिमा भएको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न हुनुपर्नेमा समेत उनको जोड छ ।