`

अनुमति नलिएर चढेपछि फर्किएको थियो बालेन चढेको हेलिकप्टर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि फर्काइएको खुलासा भएको छ । 

शाह काठमाडौँमा मतदान गरेर हेली एभरेस्टको हेलिकप्टर चढेर झापा गएका थिए । उनी चढेर गएको हेलिकप्टर ल्यान्ड नगरी काठमाडौँको त्रिभुवन विमानस्थलमा फर्किएको थियो । 

त्रिभुवन विमानस्थल उच्च स्रोतका अनुसार उनले निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकप्टर लिएर गएपछि ल्याण्ड गर्न नदिइएको हो ।

हवाई फायरपछि दाेलखाकाे गाेल्मेश्वरमा राेकिएकाे मतदान सुचारु गर्ने सर्वदलीय सहमति

काठमाडौं । बिहान हवाई फायर भएपछि दोलखाको तामाकोसी गाउँपालिका-४ मा पर्ने गोल्मेश्वर मावि मतदानस्थलमा रोकिएको मतदान सुचारु गर्ने सहमति भएको छ ।

याे सहमति सर्वदलीय बैठकपछि गरिएकाे हाे । मतदान स्थलमा खटिएका कर्मचारीलाई एउटा समूहले हातपात गर्न खोजेपछि तनाव भएकाे थियाे ।

त्यस क्रममा प्रहरीले १ राउन्ड हवाई फायर गरेको थियो ।

नारायणकाजी श्रेष्ठले मतदान नगर्ने, के हाे कारण ?

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सर्लाही-३ का उम्मेदवार नारायणकाजी श्रेष्ठले मतदान नगर्ने भएका छन् ।

उनकाे मतदाता नामावली गृहजिल्ला गाेरखामा छ । उम्मेदवार रहेकाे जिल्ला सर्लाहीमै रहेका कारण उनले गाेरखाकाे सिरानचाेक-८ काे जाैबारी मतदान केन्द्र गएर मतदान नगर्ने भएका हुन् ।

 

सर्लाही कारागारमा ३४ कैदीबन्दीले गरे मतदान

सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका-९ स्थित सर्लाही कारागारमा कैदीबन्दीका लागि गरिएको मतदान सम्पन्न भएको छ।

कारागारमा रहेका कैदीबन्दीमध्ये मतदाता नामावलीमा समावेश ३४ जनाले मतदान गरेका छन्। मतदान शतप्रतिशत खसेको सहायक मतदान अधिकृत रिन्कु महतोले जानकारी दिए।

निर्वाचनलाई व्यवस्थित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाइएको थियो। निर्धारित समयमै मतदान प्रक्रिया सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 

ओखलढुंगाको मानेभञ्ज्याङ-७ मा भयो निर्वाचन बहिष्कार

काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले मतदान बहिष्कार गरेका छन् । प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रान्तीका अनुसार, बिहान १० बजेसम्म कोही पनि मतदाताले मतदान नगरेको जानकारी दिए ।

उनका अनुसार, मानेभन्ज्याङ–७ को शहीद स्मृति आधारभूत विद्यालयमा रहेको केन्द्रमा कोही पनि मतदाता मतदानमा सहभागी नभएका हुन् ।

६५ प्रतिशत मत खस्ने आयोगको अनुमान

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिदै उनले ७७ वटै जिल्लामा आममतदाताको उत्साहपूर्वक सहभागितामा मतदान भइरहेको उनले बताए ।

उनले सबै सरोकारवाला मतदाता, राजनीतिक दल र उम्मेदवारलाई उत्साहजनक र शान्तिपूर्ण मतदानमा सहयोग गर्न आह्वान गरे । मतदान सम्पन्न भएलगतै मतपेटिका सङ्कलनपछि मतगणना गरिने उनले जानकारी दिए ।

मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने प्रयास आयोगको रहेको उनले बताए । साथै उनले मतदानमा युवाहरुको उत्साहका आधारमा ६५ प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरिएकोे बताए ।

निर्वाचन जितिहालिन्छ, चिन्ता लिनु पर्दैन- काङ्‍ग्रेस उम्मेदवार सुनिल शर्मा (भिडियाे)

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्माले जित निश्चित भएको दाबी गरेका छन् । जितका लागि चिन्ता नभएको उनले बताए ।

‘जित त निश्चितै छ नि । भोट जनताले दिने हो, उम्मेदवार म हुँ । अनि कसले जित्छ त ? यहाँका जनताले सबैले मायाँ गर्नुभएको छ, जितिहालिन्छ, चिन्ता गर्नु पर्दैन,’ उनले मतदानपछि भने ।

उनले कांग्रेसले देशभरमा ७० प्रतिशत मत प्राप्त गर्ने पनि दाबी गरे । उनी मोरङ–३ मा कांग्रेसबाट उम्मेदवार छन् ।

यसअघि पनि उनी त्यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित थिए ।\

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गरे मतदान

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गौर वडा नम्बर २ स्थित जानकी प्रावि केन्द्रबाट मतदान गरेका छन् ।

नेपाल रौटहट–१ का उम्मेदवार पनि हुन् । ४ निर्वाचन क्षेत्र रहेको रौटहटमा २७७ मतदानस्थल र ५४१ वटा मतदान केन्द्र कायम छन् । सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।

झापा–५ का मतदाताहरूले गाैरवका साथ भने– सूर्य चिह्नमा भोट हाल्यौँ, ओलीको विकल्प खोज्दैनौँ (भिडियाे)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार बनेको झापा–५ का मतदाताहरूले खुलेरै ‘सूर्य चिह्न’मा मतदान गरेका बताएका छन् ।

‘सूर्य चिह्न’ एमालेको चुनाव चिह्न हो । कुनैबेला झापा–५ मा सडक पूर्वाधार नभएकोदेखि विकासमा धेरै पछाडि परेकोमा ओलीकै कारण विकासले कोल्टे फेरको भन्दै मतदाताहरूले मतदानपछि सूर्य चिह्नमा मतदान गरेर ओलीलाई जिताउन चाहेको बताएका छन् ।

विकास र समृद्धिमा ओलीको देन उल्लेखनीय रहेको भन्दै उनीहरूले यसपटक ओलीको विकल्प खोज्न नचाहेको स्पष्ट पारे ।

ओलीसँग प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन्द्र शाह (बालेन), नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रञ्जि तामाङ, कांग्रेसबाट मन्दरा चिमरिया, श्रम संस्कृति पार्टीबाट समीर तामाङ चुनावी प्रतिस्पर्धामा छन् ।

एमाले उम्मेदवार नेम्वाङले गरे मतदान

काठमाडौँ । इलाम–२ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन् ।

उनले मरब क्याम्पस इलाम मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

झापा-५ मा खस्याे २५ प्रतिशत मत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेकाे झापा-५ मा २५ प्रतिशत मतदाताले मतदान गरेका छन् ।

याे साढे १० बजेसम्मकाे विवरण हाे ।  त्यहाँ १ लाख ६३ हजार ३७९ मतदाता छन् ।

चुनाव क्षेत्रभरी शान्तिपूर्ण रुपमा मतदान भइरहेकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

दार्चुलाका दुई मतदान केन्द्रमा भोट हाल्न आएनन् मतदाता

काठमाडौं । दार्चुलाका दुई मतदान केन्द्रमा अहिलेसम्म कोही पनि मतदान गर्न आएका छैनन्।अपि हिमाल गाउँपालिका–३ को दुधिला आधारभूत विद्यालय र नौगाडको गौरीशंकर विद्यालयमा मतदानका लागि कोही पनि नगएका हुन्। 

दुधिला आधारभूत विद्यालयमा मत खसाल्ने मतदाताको संख्या  ६०२ छ भने  गौरीशंकर मावि नागुमा २४६ जना मतदाता छन् । 

२०७४ मा वडा भएको वडा विभाजनमा असन्तुष्ट व्यक्त गर्दै स्थानयीहरूले मतदान बहिष्कार गर्दै आएका छन् ।

१० बजेसम्म खस्यो १० लाख बढी मत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार (फागुन २१) मतदान जारी छ । बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको थियो ।

बिहान १० बजेसम्म देशभर १० लाखभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ । यति बेलासम्म १० लाख ६५ हजार १२० मत खसेको आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईले जानकारी दिए ।

यो करिब ६ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । यसपालिको निवार्चनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।

देशभर १० बजेसम्ममा ६ प्रतिशत मत खस्याे – निर्वाचन आयाेग

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज सबै केन्द्रमा निर्बाध मतदान भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान १० बजेसम्म देशभर १० लाख ६५ हजार १२० मत (करिब ६ प्रतिशत) मत खसेको छ।

आयोगका अनुसार अपराह्न पाँच बजेसम्म मतदान गर्न पाइने छ।

दोलखाको मालु मतदान केन्द्रमा केही बेरका लागि स्थगित भयो मतदान

दोलखा। दोलखाको मालु मतदान केन्द्रमा केहि बेरका लागि मतदान स्थगित गरिएको छ ।

नेपाली कांग्रेस र नेकपा मिलेर बुथ कब्जा गरेपछि तनाव सिर्जना भएकाे थियाे । साेहि कारण अहिले मतदान स्थगित गरिएको छ । यसको विरोधमा एमाले र रास्वपाले नाराबाजी गरेका गरिहरेका छन् ।

बुथ कब्जाको प्रयासपछि दोलखाको मालु मतदान केन्द्रमा हवाइफायर

काठमाडौं। दोलखाको मतदान स्थलमा विवाद हुँदा प्रहरीले हवाइ फायर गरेको छ।

बिहीबार बिहान ७ बजेदेखि सुरू भएको प्रतिनिधि सभा निर्वाचनको क्रममा तामाकोशी गाउँपालिका-४ को मालु मतदानस्थलमा विवाद भएपछि हवाइ फायर गरिएको हो।

पाँचथरमा मतदान सुरु भएकाे अढाई घण्टामा ४ प्रतिशत मतदान

काठमाडौं । देशकाे पूर्वी पहाडी जिल्ला पाँचथरमा मतदान सुरु भएकाे अढाई घण्टामा चार प्रतितश मात्रै मत खसेकाे छ ।

याे भनेकाे कुल एक लाख ४३ हजार ४०८ जना रहेकाे पाँचथरमा ९२९ जनाले मात्रै मतदान गरेका हुन् । जिल्ला निर्वाचन कार्यालय पाँचथरले अब भने मतदान धेरै हुने जनाएकाे छ ।

उसाे त पाँचथरमा हरेक निर्वाचनमा न्यून मतदान हुने गरेकाे छ ।

२०७९ को निर्वाचनमा पनि प्रत्यक्षतर्फ ५३ र समानुपातिकतर्फ ५४ प्रतिशत मात्रै मत खसेको थियो ।

 

 

ओखलढुङ्‍गाकाे मानेभञ्‍ज्‍याङ-७ मा मतदान बहिस्कार, यस्ताे रहेछ कारण

काठमाडौं । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-७ का मतदाताहरुले  मतदान गर्न अस्वीकार गरेका छन्।

त्यहाँका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रान्तीका अनुसार उनीहरुले प्रादेशिक अस्पताल निर्माणको माग सम्बोधन नभएको भन्दै मतदान गर्न सामूहिकरुपमा अस्वीकार गरेका हुन् ।

त्यहाँ ७०१ जना मतदाता छन् । तर अहिलेसम्म कसैले पनि मत खसालेका छैनन् ।

त्यहाँका  स्थानीयले पहिले नै प्रदेश सरकारलाई अस्पताल बनाउने प्रयोजनका लागि १६५ रोपनीभन्दा बढी जग्गा उपलब्ध गराएका थिए। यद्यपि अस्पताल निर्माण प्रक्रिया सुरु नभएपछि उनीहरु रुष्ट थिए ।

बालेन बोकेर झापा हिनेको हेलिकप्टर काठमाडौं फर्कियो

काठमाडौं।  झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको छ।

बिहीबार बिहान करिब साढे ९ बजे काठमाडौंबाट उडेको हेलि एभरेष्ट को 9N-AOB कलसाइन भएको हेलिकोप्टर झापातर्फ प्रस्थान गरेको थियो। तर, निर्धारित गन्तव्यमा अवतरण नगरी पुनः काठमाडौं फर्किएको स्रोतले जनाएको छ।

यसअघि काठमाडौंमा मतदान सम्पन्न गरेपछि बालेन चार्टर उडानमार्फत झापा जाने तयारीमा रहेको जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीले दिएका थिए। सो दिन काठमाडौंबाट झापाका लागि कुनै नियमित हवाई उडान नरहेकाले चार्टरमार्फत यात्रा व्यवस्थापन गरिएको थियो। यसमा बालेनसहित ५ यात्रु थिए ।

कसैकाे बहुमत आउने देख्दिनँ तर नेकपाकाे राम्रै आउँछ- प्रचण्ड (भिडियो)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा रुकुमपूर्वका प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनबाट कसैले बहमुत प्राप्त नगर्ने दाबी गरेका छन् ।

निर्वाचन प्रणालीका कारण पनि बहुमत आउने स्थिति नभएको उनको भनाइ छ । यद्यपि, नेकपाको मत परिणाम राम्रै आउने उनले विश्वास व्यक्त गरे ।

विशेष परिस्थितिमा भएको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न हुनुपर्नेमा समेत उनको जोड छ ।

पालुङ्टार पुगेर बाबुराम भट्टराईले गरे मतदान

गोरखा । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मतदान गरेका छन् । जारी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भट्टराईले गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि केन्द्रमा सवा ९ बजे मतदान गरेका हुन् ।

यहाँ भट्टराई समर्थित दल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले प्रत्यक्षतर्फ नेपाली कांग्रेसलाई समर्थन गरेको छ ।

जनताकाे विश्‍वासले चुनाव जित्छाैँ – कुलमान घिसिङ (भिडियाे)

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले जनताले विश्वास गरेका कारण निर्वाचन जित्ने दाबी गरेका छन् । काठमाडौंको महाकाँलस्थित जनकल्याण मावि मतदान केन्द्रमा मतदान गरेपछि उनले यस्तो बताएका हुन् । उनी काठमाडौं–३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

गाडीबाट चितवन फर्किदै रास्वपा सभापती लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौंमा मतदान गरेर चितवनतिर लागेका छन् ।

चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका रवि स्थलमार्ग हुँदै चितवन हिँडेको उनको सचिवालयले जनाएको छ ।

गगन- अमरेश उम्मेदवार रहेकाे सर्लाही-४ मा कुटाकुट (भिडियाे)

काठमाडौं । नेपाली काङ्‍ग्रेका सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेशकुमार सिह उम्मेदवार रहेकाे सर्लाही- ४ काे एउटा मतदान केन्द्रमा कुटाकुट भएकाे छ ।मतदान गर्न बिहानै लाइन बसेका मतदाताबीच कुटाकुट भएको हो । अहिले स्थिति सामान्य भइसकेकाे छ ।

कुटाकुट भएकाे सर्लाही-४ अन्तर्गत बसबरिया गाउँपालकिा-३ भवानीपुरस्थति जनता मावि मतदान केन्द्रमा हाे ।

 

मतदानपछि रवीन्द्र मिश्रकाे कामना- ‘जित हुनेमा ढुक्क, राम्रो काम गर्न सकुँ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रले मतदान गरेका छन् ।

उनले ललितपुरको भैँसेपाटी मतदान गरेका छन् ।

मतदानपछि उनले भने, ‘जित हुनेमा ढुक्क। राम्रो काम गर्न सकुँ ।’

नेकपा नेता भीम रावलले गरे मतदान

अछाम। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले मतदान गरेका छन् ।

उनले अछामको साँफेबगर नगरपालिका-६ भागेश्वरमा रहेको चन्द्रोदय प्राथमिक विद्यालयबाट मतदान गरेका हुन् । उनी अछाम– १ बाट नेकपा उम्मेदवार छन् ।

उदयपुरकाे कटारीमा सुरक्षाकर्मी लड्दा गाेली चल्याे, ४ मत खसेकाे मतपेटिकामा क्षति

काठमाडौं । सुरक्षाकर्मीकाे असावधानीले उदयपुरको कटारीमा गोली चलेकाे छ । ४ मत मात्रै खसेकाे मतपेटिकामा क्षति भएकाे छ ।

सुरक्षाकर्मीले बाेकेकाे सर्टगनबाट कटारी नगरपालिका-३ तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा सुरक्षाकर्मी बोकेको हतियारबाट गोली पड्केको थियो ।

तर, मतपत्रमा भने कुनै क्षति नभएको प्रहरीले बताएको छ ।

कोशी प्रदेशका डीआईजी विनोद घिमिरेका अनुसार सुरक्षाकर्मी लड्दा हतियार पड्केको हो ।

१८ वर्षपछी गरे विप्लवले मतदान

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले १८ वर्षपछी  मतदान गरेका छन्।

विप्लवले रोल्पाको परिवर्तन गाउँपालिका-३ थुनिकोटस्थित  श्री बाल शिक्षा माध्यमिक बिद्यालय मतदान केन्द्र बाट मतदान गरेका हुन ।

विप्लवको सचिवालयका नारायण चन्दका अनुसार यसअघि विप्लवले २०६४ को संविधान सभा निर्वाचनमा मतदान गरेका थिए। त्यसयता उनले कहिलै मतदान गरेका थिएनन्।

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् धापासीमा मतदान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् ।

उनले काठमाडौंकाे धापासीमा रहेकाे धापासी निमावि फैमालचुली पुगेर मतदान गरेका हुन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरे मतदान

काठमाडौँश्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले मतदान गरेका छन् ।

साम्पाङ्ले धरान उपमहानगरपालिका–१८ स्थित कारमेल स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

साम्पाङ सुनसरी–१ बाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।

२३ वटा बाहेक देशका सबै केन्द्रमा सुरु भयो मतदान

काठमाडौं । देशभरका मतदान केन्द्रमा मतदान सुरु भएको छ। निर्वाचन आयोगले तोकेको बिहान ७ बजेदेखि नै मतदानका सुरु भएको हो। 

काठमाडौँ उपत्यकाका ५२७ वटा स्थायी र ९ वटा अस्थायी मतदानस्थलमा पनि मतदान भइरहेको छ। 

प्रहरी प्रधान कार्यालयका अनुसार देशका २३ वटा मतदान केन्द्रबाहेकका मतदान केन्द्रमा  अहिले मतदान चलिरहेको छ। केही हिमाली क्षेत्रका मतदान केन्द्र र केही स्थानमा प्राविधिक कारणले मतदान सुरु हुन नसकेको र अन्य ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

एमाले महासचिव पोखरेलले तुलसीपुरबाट गरे मतदान

दाङ। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मतदान गरेका छन्। 

पोखरेल प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार छन्। 

उनले आफ्नै क्षेत्रमा पर्ने दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९  स्थित जनता विद्यापीठ बुथमा मतदान गरेका हुन्। 

प्रचण्डले चितवनमा मतदान गरेर रुकुम प्रस्थान गरे

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट मतदान गरेर रुकुम पश्चिम फर्किएका छन् ।

मतदानपछि अध्यक्ष प्रचण्ड हेलिकप्टरमार्फत रुकुमतर्फ प्रस्थान गरेका हुन् ।

काठमाडौंमा मतदान गरेर रास्वपा वरिष्ठ नेता बालेन झापा प्रस्थान

काठमाडौँ । काठमाडौंमा मतदान प्रक्रिया सम्पन्न गरेपछि झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तथा काठमाडौं महानगरपालिकाका निर्वतमान नगर प्रमुख बालेन्द्र शाह (बालेन) बिहीबार बिहान हेलिकोप्टर चार्टर उडानमार्फत झापा प्रस्थान गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक उच्च अधिकारीका अनुसार बालेन हेलि एभरेष्ट को हेलिकोप्टरमार्फत झापा जान लागेका हुन्।

कांग्रेस उपसभापति शर्माले गरे झापाबाट मतदान

झापा । नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् । उनी कांग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत हुन् ।

पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन् ।

उनले बिहीबार बिहान साढे ७ बजे मतदान गरेका हुन् । उनले पार्टीको माहोल राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

झापामा सात लाख १३ हजार बढी मतदाता सहभागी हुने अपेक्षा

काठमाडौँ । झापामा उत्साहका साथ मतदान सुरु भएको छ । मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी डिल्लीप्रसाद प्रसाईंले निर्धारित समयमा मतदान सुरु भएको बताए ।

झापाका पाँच वटा निर्वाचन क्षेत्रबाट ९० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा जिल्लाका सात लाख १३ हजार ५ सय ३७ जना मतदाताले मतदान गर्ने अपेक्षा छ ।

जिल्लामा तीन लाख ५८ हजार ३ सय ४६ पुरुष, तीन लाख ५५ हजार ८३ महिला र आठ जना अन्य मतदाता कायम छन् । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनको तुलनामा ५० हजार २ सय २६ मतदाता र ४९ वटा मतदान केन्द्र थप भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चितवनमा गरे प्रचण्डले मतदान

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन् । उनले चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका १४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट मतदान गरेका हुन् ।

प्रचण्डले आफैँलाई भोट हाल्न भने पाएनन् । उनले मतदान गरेको क्षेत्रमा उनकी छोरी रेनु दाहाल उम्मेदवार छिन् । बिहीबार बिहानै मतदान गरेका प्रचण्ड आजै रुकुम पूर्व जाने तयारीमा छन् । उनी त्यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।

 

रास्वपाका वरिष्ठ नेता बालेनले गरे सिनामंगलबाट मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले मतदान गरेका छन् । उनले काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कूलमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

रास्वपाले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै झापा–५ को उम्मेदवार बनाएको छ । बिहान साढे ७ बजे मतदान गरेका उनी आजै आफ्नो उम्मेदवारी भएको निर्वाचन क्षेत्र जाने उनको सचिवालयले जनाएको छ ।

रास्वपा सभापती लामिछाने गरे महाँकालचौरबाट मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरबाट मतदान गरेका छन् । 

लामिछाने चितवन-२ बाट प्रतिनिधिसभा उम्मेदवार छन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे मतदान

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुटवल–८ सडक विभागको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

पौडेल रुपन्देही-२ बाट प्रतिनिधिसभा उम्मेदवार समेत हुन्।