`

‘टेक एण्ड पे’ संशोधन गर्न माग गर्दै इप्पानद्वारा आन्दोलन घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा राखिएको ‘टेक एण्ड पे’ पीपीए नीतिबारे गम्भीरतापूर्वक पुनर्विचार नगरेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ  ।

ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी ८० प्रतिशतभन्दा बढी रहेको अवस्थामा टेक एण्ड पे प्रणालीका कारण अध्ययनरत १७ हजार मेगावाट क्षमताका ३५० भन्दा बढी आयोजना प्रभावित हुने भन्दै इप्पानले आन्दोलनको बाटो रोजेको हो ।

इप्पानका अनुसार यी आयोजनामा निजी क्षेत्रबाट झण्डै ६६ अर्ब रुपैयाँ लगानी भइसकेको छ । इप्पानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारको बजेट वक्तव्यमा रन अफ रिभर आयोजनाको पीपीए टेक एण्ड पे आधारमा मात्रै गरिने निर्णयले निजी लगानी डुब्ने खतरा उत्पन्न भएको छ । यस निर्णयले पूर्वसहमति, अध्ययन अनुमति प्राप्त आयोजना निर्माणमै जाने बाटो बन्द गर्नेसम्मको अवस्था सिर्जना भएको छ ।’

इप्पानले आन्दोलनको पहिलो चरण अन्तर्गत असार ६ गते प्रधानमन्त्री, ऊर्जा तथा अर्थमन्त्रीलाई पुनः ज्ञापनपत्र बुझाउने, असार ७ गते एसएमएस अभियानमार्फत टेक एण्ड पे फिर्ता लिन अनुरोध गर्ने, असार ८ गते सामाजिक सञ्जालमार्फत विरोध सन्देश लेख्ने, असार ९ गते विभिन्न निजी क्षेत्रका संघ संस्थासँग छलफल गरी संयुक्त धारणा सार्वजनिक गर्ने र असार १० गते प्रतिनिधिसभाका सभामुख तथा प्रमुख सचेतकलाई एसएमएस पठाउने कार्यक्रम तय गरेको छ ।

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले बिहीबार यसअघिको आदेशलाई निरन्तरता दिएको हो ।

यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको उच्च अदालतले दुवै पक्षको सुनुवाइ गरी आदेशलाई निरन्तरता दिएको हो ।

सञ्चार माध्यम वा पत्रकारले सम्प्रेषण गरेका सामग्रीबाट मर्का पर्ने व्यक्तिले प्रेस काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था भएकाले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान गर्नु नपर्ने पनि उच्च अदालतको आदेशमा उल्लेख छ।

प्रकाशित समाचार हटाउने आदेश खारेज

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपालखबर र बिजमाण्डु अनलाइनविरुद्ध दायर गरेको निषेधाज्ञाको निवेदन काठमाडौँ जिल्ला अदालतले खारेज गरिदिएको छ।

बिहीबार जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको इजलासले श्रेष्ठको निवेदन खारेज गरेको हो । यो आदेशसँगै नेपालखबर र बिजमाण्डुले श्रेष्ठका विषयमा प्रकाशित समाचार सामग्रीहरू हटाउनु नपर्ने भएको छ ।

श्रेष्ठले बिचौलियामार्फत घुस मागेको विषयका समाचार प्रकाशन भएपछि नेपालखबर र बिजमाण्डुविरुद्ध श्रेष्ठले रिट दायर गरेका थिए ।

निषेधाज्ञाको निवेदनमा एकपक्षीय सुनुवाइपछि गत जेठ २७ गते न्यायाधीश पीताम्बर शर्माको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । जेठ २७ गते न्यायाधीश शर्माको इजलासले धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठबारे प्रकाशित समाचार हटाउन र थप नलेख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

सोही आदेशमा नेपालखबर र बिजमान्डुसँग लिखित जवाफ माग गर्दै बुधबारका लागि छलफलमा झिकाएको थियो ।

सोह्र वर्षमुनिको राष्ट्रिय क्रिकेट टोली घोषणा

काठमाडौँ । मलेसियामा आयोजना हुने एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताका लागि बिहीबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

यही असार ८ देखि २१ गतेसम्म मलेसियामा हुने उक्त प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीमा कप्तान शर्मासहित उपकप्तान सुर्याशु कोइराला, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, परिमर्जन यादव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुसिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही छन् ।

प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित थाइल्याण्ड, माल्दिभ्स, हङ्कङ र म्यानमार छन् ।

नेपालले यही असार ८ गते सिङ्गापुरसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलका विजेताबीच यही असार २१ गते उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

आयोडिनयुक्त नुनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह

काठमाडौं। सरकारले आयोडिनयुक्त नुनको आपूर्ति प्रणालीमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी गरिरहेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले गम्भीर आपत्ति जनाएको छ ।

वर्षौँदेखि सरकारी नियमनमा सहज, सुलभ, सस्तो र गुणस्तरीय रूपमा नुन आपूर्ति हुँदै आएको व्यवस्था तोड्ने प्रयास भइरहेको भन्दै मञ्चले उक्त निर्णय उपभोक्ता विरोधी भएको टिप्पणी गरेको हो ।

उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ताहित समितिको बैठकमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नेपाली जनताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने आयोडिनयुक्त नुनको आपूर्ति र वितरणलाई निजीकरणतर्फ लैजान खोजिएको भन्दै गम्भीर आपत्ति जनाए ।

‘नेपालमा आयोडिन भएको गुणस्तरीय नुनको सहज, सुलभ आपूर्ति तथा वितरण’ का सम्बन्धमा अध्यक्ष महर्जनले हालसम्म सरकारी नियमनमा सहज, सुलभ, सस्तो र गुणस्तरीय रूपमा नुन आपूर्ति हुँदै आएको व्यवस्था अत्यन्त हितकारी भएको स्पष्ट पारे ।

उनले भने, ‘नुनजस्तो अत्यावश्यक वस्तुको आपूर्ति नियन्त्रित रूपमा हुँदै आएको छ । तर केही व्यापारी र बिचौलियाले खुला बजार र प्रतिस्पर्धाको नाममा निजी क्षेत्रलाई प्रवेश गराउने दबाब दिइरहेका छन् । यसले जनस्वास्थ्यमाथि प्रत्यक्ष असर पार्ने खतरा देखिएको छ ।’

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत राज्यले गुणस्तरीय आयोडिनयुक्त नुन जनतालाई सुलभ मूल्यमा उपलब्ध गराउँदै आएको जनाउँदै अध्यक्ष महर्जनले नुनको कारोबारमा निजीकरण गर्न नहुने धारणा राखे।

‘केही व्यापारी र बिचौलियाले मिलेमतो गरी भ्रामक प्रचारमार्फत निजीकरणतर्फ मोड्ने प्रयास गरिरहेका छन्, २७ वर्षसम्म परिवर्तन आवश्यक नरहेको व्यवस्था अहिले किन परिवर्तन गरियो?’, उनले प्रश्न गरे । यो कार्यको पछाडि व्यापारीकरण र कालोधनको खेल हुनसक्नेमा उनले आशङ्का व्यक्त गरे ।

बैठकमा साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सञ्चारमाध्यमबाट आयोडिनयुक्त नुनको आपूर्ति व्यवस्था निजी क्षेत्रलाई दिने तयारी भइरहेको खबरप्रति ध्यानाकर्षण भएको जानकारी दिइन् ।

उनले भनिन्, ‘भूकम्प, तराई बन्दलगायत सङ्कटका समयमा पनि कर्पोरेसनले सहज रूपमा नुन आपूर्ति गरेको थियो । नेपाल सरकारको वर्तमान नीतिअनुरुप राज्यभरका आम उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने आयोडिनयुक्त नुनको आपूर्ति व्यवस्था र उपलब्धि जोगाइराख्न कर्पोरेसनमार्फत नुनको आपूर्तिलाई निरन्तरता दिनुहुन सम्बन्धित मन्त्रालयमा आवश्यक निर्देशनका लागि अनुरोध गर्दछौँ ।’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले हाल नुनको आपूर्ति व्यवस्था कर्पोरेसनमार्फत भइरहेको भन्दै त्यो पर्याप्त र गुणस्तरीय रहेको धारणा राखे ।

उनले भने, ‘यो व्यवस्थामा परिवर्तन गरेर निजी क्षेत्रलाई सम्बोधन गरियो भने मूल्यमा एकरूपता नहुने, सुलभ र सहज आपूर्ति नहुनेलगायत समस्या आउन सक्नेमा आशङ्का भएको देखिन्छ ।’

बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी अनुपस्थित रहेकाले समितिका सदस्यहरूले असन्तुष्टि व्यक्त गरेपछि बैठक स्थगित गरिएको थियो ।

धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु

धनुषा। धनुषामा बाली जोगाउन खेतमा जडान गरिएको विद्युतीय तारमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मिथिला नगरपालिका–१ ढल्केबरका ५० वर्षीया मङ्गलीदेवी महतोको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

कार्यालयका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार मङ्गलीदेवीले तरकारीबारीमा काम गर्ने क्रममा खेतमा जडान गरिएको तारमा छोएपछि निजको घटनास्थलमा मृत्यु भएको हो ।

‘केही किसानले जंगली जनावरबाट तरकारी तथा अन्य बाली बचाउन विद्युतीय तार तानेर करेन्ट प्रवाह गरी बाली सुरक्षा गर्दै आएका छन् । मङ्गलीदेवीले पनि सोही तार छोएपछि करेन्ट लागेको हो’, उनले भने।

महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको जनाउँदै घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरी प्रवक्ता बरुण सिंहले बताए।

सीपयुक्त जनशक्ति नभएसम्म मुलकको विकास हुन सक्दैन : श्रममन्त्री भण्डारी

पाटन। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले सीपयुक्त जनशक्ति नभएसम्म मुलकको विकास हुन नसक्ने धारणा राखेका छन् ।

राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले आज आयोजना गरेको सरकारी तथा गैरसरकारी निकाय-संस्थासँग अन्तरक्रिया गोष्ठीमा मन्त्री भण्डारीले मुलुकभित्र सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्न मन्त्रालयले आन्तरिक रोजगार दशक लागू गर्न खोजिरहेको उल्लेख गरे।

‘मन्त्रालयले आन्तरिक रोजगारीको सृजना गरेर अगाडि बढ्नेगरी योजना बनाइरहेको छ, बाध्यात्मक वैदेशिक रोजगारीलाई अन्त्य गर्न मन्त्रालय प्रयासरत छ, यसलाई निरुत्साहित गरिनुपर्छ । सूचना प्रविधिको सहयोगमा रोजगारीका अवसर सृजनामा केन्द्रित भएका छौँ’, उनले भने।

मन्त्री भण्डारीले सरकारले दिएको रोजगारी मात्रै रोजगारी हो भन्ने भ्रमबाट मुक्त हुनुपर्छ भन्दै निजी क्षेत्रले सृजना गर्ने रोजगारी पनि महत्त्वपूर्ण हुने बताए।

‘निजी क्षेत्रसँग सहकार्य र समन्वय गरी मुलकको आर्थिक समृद्धि हासिल गर्ने मार्गमा मन्त्रालय लागिरहेको छ । वैदेशिक रोजगारीमा गएर आएकाको सीप कसरी उपयोग गर्न सकिन्छ भनेर सबै पक्षबीच छलफल र समन्वय गरी योजनाबद्ध रूपमा अघि बढ्नुपर्छ’, उनले भने।

श्रममन्त्री भण्डारीले मन्त्रालयको जिम्मेवारी वैदेशिक रोजगारी मात्र नभइ आन्तरिक रोजगारी बढाउने भएकाले मन्त्रालयमा आन्तरिक रोजगार महाशाखा स्थापना गरी काम गरिरहेको जानकारी दिए । उनले श्रम क्षेत्रमा आउने चुनौतीको सामना गर्न, वैदेशिक रोजगारीमा रहेकालाई नेपालमा फर्काएर रोजगारीको वातावरण सृजना गर्न सबै पक्षले जिम्मेवारी र जवाफदेही भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सम्पदा क्षेत्रमा झिँगटीको छाना छाउने र पुरातात्त्विक महत्त्वका सम्पदा निर्माणमा जनशक्ति कम रहेकाले महानगरले आवश्यकतामा आधारित तालिमलाई जोड दिएको बताए।

मन्त्रालयका सचिव डा. कृष्णहरि पुस्करले राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले विभिन्न प्रकारका तालिम सुरु गरेको भन्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारको मागअनुसार निजी क्षेत्रसँग सहकार्य गरेर तालिम सञ्चालनसँगै नीतिगत रूपमा सुझाव दिने काम भइरहेको बताए। प्रतिष्ठानले वास्तविकतामा आधारित गरेर दक्ष कामदार तयार गर्न सुरुवात भएको उनले जानकारी गराए।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मलहोत्राले दक्ष जनशक्तिले मुलुकको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने भन्दै नेपालमा रोजगारको अवसरको सृजना हुने वातावरण बन्दै गएको धारणा राखे । घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले श्रम मन्त्रालयले प्रभावकारी काम गरिरहेको भन्दै दक्ष जनशक्ति निर्माणमा महासङ्घ सहकार्य गर्न तत्पर रहेको बताए।

पाँच वर्षे रणनीतिक योजनाका बारेमा प्रस्तुतिकरण दिँदै प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमका विज्ञ डा रामहरि लामिछानेले सीप विकास तथा व्यवसायिक तालिमका क्षेत्रमा ६६ वर्ष लामो इतिहास भएको राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मागअनुसारको दक्ष जनशक्ति तयार गर्नसक्ने क्षमता रहेको धारणा राखे। प्रतिष्ठानसँग वैदेशिक रोजगारमा गएर फर्केकालाई पनि तालिम दिनुपर्नेमा उनले जोड दिए।

कार्यकारी निर्देशक रमेशकुमार बखतीले रोजगारदातालाई आवश्यक दक्ष जनशक्ति निर्माणका लागि पाठ्यक्रम निर्माण गरी सोहीअनुसार तालिम दिएर आन्तरिक रोजगारलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

आलमलाई सफाइ दिने दुई न्यायाधीश न्याय परिषदमा तानिए

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने दुई न्यायाधीश न्याय परिषदमा तानिएका छन् ।

बिहीबार बसेको न्याय परिषद्को बैठकले आलमलाई ज्यान मुद्दामा उन्मुक्ति दिने न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जन न्याय परिषद्मा तानेको हो ।

उनीहरुविरुद्ध न्याय परिषदमा उजुरी पनि परेको छ । त्यस्तै केही दिनअघि न्यायाधीश थारुमाथि कालोमोसोसमेत दलिएको थियो ।

आलमलाई जिउँदै इट्टाभट्टामा जलाएर मान्छे मारेको अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेकोमा उच्च अदालतका न्यायाधीश थारु र महर्जनको इजलासले सफाइ दिएपछि उनीहरुको आलोचना हुँदै आएको छ ।

सदनमा देखिएको अवरोधको तत्काल समाधान खोज्न उपमहासचिव शर्माको माग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजित बजेट कार्यान्वयन सन्तुलित रूपमा हुनुपर्नेमा जोड दिएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा शर्माले वन तथा वातावरण, कृषि तथा पशुपन्छी विकास र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै बजेट अर्थतन्त्रलाई सुधार गरी सुशासन प्रवद्र्धन गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

सांसद शर्माले बजेटले संविधानको प्रभावकारी कार्यान्वयन, सङ्घीयताको सवलीकरण गरी स्थानीय सरकारलाई स्रोतसाधनयुक्त बनाइनुपर्ने बताए । उनले बजेटले गरिबी निवारणका लागि आवश्यक योजना समेट्न नसकेको, कृषि उत्पादन प्रवद्र्धनका लागि कार्यक्रम प्रभावकारी नभएको बताए ।

युवा र श्रमिकको परिचालन नगरी पुँजी निर्माण नहुने भन्दै सांसद शर्माले जनताका आधारभूत आवश्यकता स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकता दिइनुपर्ने खाँचो औँल्याए ।

मध्यपूर्वी एसियामा चर्चिएको द्वन्द्वले तेस्रो विश्वयुद्धको खतरा औँल्याएको भन्दै युद्धग्रस्त मुलुकमा रहेका नेपालीको सुरक्षा र रोजगारीको उचित व्यवस्थापनका लागि उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद शर्माले सदनमा देखिएको अवरोधको तत्काल समाधान गरेर सहज रूपमा सञ्चालनको वातावरण बनाउन सभामुखसमक्ष माग गरे ।

श्रीलङ्का टापुका किसानलाई अनुदानमा कृषिउपकरण

धरान । बराहक्षेत्र नगरपालिकाले बराहक्षेत्र नगरपालिका-६ र ९ श्रीलङ्का टापुका किसानलाई अनुदानमा आधुनिक कृषिउपकरण वितरण गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालन गरिएको मकै पकेट क्षेत्र विकास कार्यक्रम तथा कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको वित्तीय हस्तान्तरण कार्यक्रममार्फत विद्युतीय मोटर, डेलिभरी पाइप, त्रिपाललगायत सामग्री वितरण गरिएको हो ।

बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीका अनुसार किसानलाई ४३ थान विद्युतीय मोटर, ६० थान डेलिभरी पाइप र एक सय ५५ थान त्रिपाल वितरण गरिएको छ ।

नगरको वार्षिक कार्यक्रमअनुसार सूचना जारी गरी कृषकको आवेदन सङ्कलनपछि छनोट गरिएका लाभग्राहीलाई गरैया कृषि सहकारी संस्थाको समन्वयमा आधुनिक कृषि प्रणाली अपनाउन सहयोग पुग्ने अपेक्षासहित ५० प्रतिशत अनुदानमा उपकरण वितरण गरिएको उनले बताए ।

उनले भने, ‘कृषि क्षेत्र नगर विकासको आधारस्तम्भ भएकाले यस्ता कार्यक्रममार्फत कृषकको उत्पादनशीलता र जीवनस्तर सुधार ल्याउने लक्ष्य लिएका छौँ।’

कृषकको श्रमलाई प्रविधिमैत्री बनाउन सकियो भने उत्पादन वृद्धि हुनका साथै उत्पादित कृषिउपजको निर्यात गरी स्थानीयले आयअर्जनसमेत गर्नसक्ने नगरप्रमुख कार्कीले बताए ।

श्रीलङ्का टापुमा मकै, तरकारी, धानलगायत नगदे बालीको उत्पादन प्रशस्त हुने भएकाले वितरण गरिएका उपकरणको सहयोगले किसानको उत्पादन र कार्यशैलीमा सहजता हुने उनले विश्वास व्यक्त गरे । नगरपालिकाले बर्सेनि बीउबिजन र अन्य आवश्यक कृषि सामग्री सतप्रतिशत अनुदानमा वितरण गर्दै आएको उनले बताए ।

कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कट्वाल, कृषि शाखा प्रमुख तुलसा लिम्बु, गरैया कृषि सहकारी संस्थाका अध्यक्ष बद्री राईलगायत स्थानीय जनप्रतिनिधिहरूको सहभागिता थियो।

उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने माग गरेका छन्।

बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले सरकारले आगामी आर्थिक वर्षदेखि उखु किसानलाई दिँदै आइएको प्रतिक्विन्टल ७० को उत्पादन अनुदान खारेज गर्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै उक्त अनुदान नरोक्न सभाध्यक्षमार्फत सरकारको ध्यानार्कषण गराएका हुन्।

विगत ३० वर्षदेखि निरन्तर उपलब्ध गराउँदै आइएको सुविधा खारेज गर्ने निर्णयले किसान मर्कामा पर्ने उनहरूको भनाइ छ। सांसद डा.बेदुराम भुसालले उक्त अनुदान नरोक्न सरकारको ध्यानार्कषण गराए। उनले भने,‘यो अनुदान रोक्नु भनेको किसानलाई असहयोग गर्नु हो तसर्थ यो निर्णय तुरुन्त फिर्ता गरियोस्।’ सांसद गोपीबहादुर सार्की अछामीले उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज गर्दा रौतहट, सर्लाही, महोत्तरीलगायत जिल्लाका किसान निरुत्साहित हुने बताए।

सांसद मृगेन्द्रकुमार सिंह यादवले उखु किसानलाई दिइँदै आइएको अनुदान रोक्ने निर्णयबारे पुनःविचार गर्न आग्रह गरे। सांसद गोपाल भट्टराईले नारायणगढ–बुटवल खण्डको करिब ५० किलोमिटरसम्म अहिले ट्राफिक जाम हुने गरेको भन्दै विनयी खोलामा तत्काल पक्की पुल निर्माण गरी सञ्चालनमा ल्याउन माग गरे। सांसद जगप्रसाद शर्माले कृषि विकास बैंक र अन्य वित्तीय संस्थामा अवकाश कोष यथावत् राख्नुपर्ने माग गरे।

सांसद तारामान स्वाँर र सांसद शारदादेवी भट्टले कोरोना संक्रमण बढिरहेकाले सोको नियन्त्रणका लागि ध्यानार्कषण गराए। उनीहरूले भारतबाट फर्किनेसँगै कोरोना संक्रमण देखिएको भन्दै सीमानाकामा परीक्षण र उच्च सर्तकता अपनाउन आग्रह गरे। सांसद सुमित्रा बिसीले पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको विनयी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाँउदा सडकमा सवारी आवागमन प्रभावित भएकातर्फ सम्बन्धित मन्त्रालयको ध्यानार्कषण गराइन्।

२४ अंकले घट्यो नेप्से

काठमडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्से उच्च अंकले घटेको छ । बिहीबार नेप्से २४ दशमलव ७६ अङ्कले घटेर २ हजार ६ सय २८ दशमलव ९१ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर झन्डै साढे २ प्रतिशतले ओरालो लागेको छ । यस्तै विकास बैंक, जलविद्युत्, उत्पादन, लघुवित्त, अन्य समूहको शेयर १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज प्योर इनर्जी, रसुवागढी हाइड्रोपावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले ओरालो लागेको छ । बजार उच्च अङ्कले घटेको दिन पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको शेयर भने झन्डै १० अङ्कले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आज ३१४ कम्पनीका २ करोड ९४ लाख कित्ता शेयर ११ अर्ब २३ करोड रुपैयाँमा किनबेच भएको छ ।

निजामती विधेयक सदनमा अल्झाएर नराख्न खतिवडाको आग्रह

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयक अघि नबढाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सभापति खतिवडाले निजामती विधेयक रोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘निजामती विधेयक कार्यसूचीमा आज प्रवेश गरेको देखिनँ । राज्य व्यवस्था तथा सुशासन समितिबाट हामीले पेस गरेको निजामती विधेयक यहाँ आएर किन रोकियो ? छट्टै त्यो कार्यसूचीमा आएर पारित हुने विश्वास मैले लिएको छु।’

सभापति खतिवडाले असार १ गते प्रतिनिधिसभामा पेस गरेका थिए। मंगलबार पारित गर्ने गरी कार्यसूचीमा राखिए पनि कार्यसूचीमा प्रवेश नभई सभा स्थगित भयो । तर बिहीबार पनि यो विषय कार्यसूचीमै राखिएन ।

कुलिङ पिरियड राख्न नहुने पक्षमा मुख्यसचिवसहितका सचिवहरुले प्रधानमन्त्रीदेखि नेताहरुसँग लविङ गरिरहेका छन् । कर्मचारीकै कारण यो रोकिएको भन्दै आजको संसद बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसदहरुले सरकारलाई खुट्टा नकमाउन आग्रह गर्दै कुलिङ पिरियडको व्यवस्था नहटाउन माग गरेका छन् ।

पाँच शिशुको हत्या गरेको आरोपमा अर्जेन्टिनी नर्सलाई आजीवन कारावास

ब्युनस आयर्स । अर्जेन्टिनाको एक अस्पतालमा पाँच शिशुको हत्या र आठ अन्यको हत्या प्रयास गरेको आरोपमा एक नर्सलाई आजीवन कारावासको सजाय सुनाइएको  छ ।

अभियोजकहरूका अनुसार ब्रेन्डा सेसिलिया अगुएरोले सन् २०२२ मार्च र जुनको बीचमा सूची नियन्त्रण नभएका आपत्कालीन चिकित्सा कार्टबाट डोज लिएर नवजात शिशुहरूमा पोटासियम र इन्सुलिन सुई लगाएकी थिइन् ।

अर्जेन्टिनी कानूनअनुसार अगुएरो ३५ वर्षको सजाय भोग्नुअघि प्यारोलका लागि योग्य हुनेछैनन् ।अदालतका क्लर्कले बुधबार स्थानीय मिडियामा प्रसारण गरिएको फुटेजमा सजाय पढेर सुनाएका थिए ।

सबै स्वस्थ जन्मिएका बच्चाको ब्युनस आयर्सबाट तीन सय ७० माइल (छ सय किलोमिटर) उत्तरपश्चिममा रहेको कोर्डोबा प्रान्तको मातृ तथा बाल अस्पतालको नवजात वार्डमा प्रारम्भिक अस्पष्ट परिस्थितिमा मृत्यु भएको थियो ।

द्रुत चिकित्सा हस्तक्षेपका कारण अन्य आठ जना बाँचेका थिए । मुद्दामा पूर्व प्रान्तीय अधिकारी र स्वास्थ्यकर्मीहरू सहित १० अन्य प्रतिवादीविरुद्ध ढाकछोप र कर्तव्यमा लापरवाहीको आरोप लगाइएको थियो ।आरोप लागेकाहरूमा कोर्डोबा प्रान्तका पूर्व स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिवका साथै अस्पतालका पूर्व निर्देशक समावेश थिए ।

सन् २०२२ मा पक्राउ परेकी अगुएरोले आरोपहरू अस्वीकार गरिन । यसअघि उनले अदालतलाई ‘उनीहरूसँग कुनै प्रमाण छैन’ र मिडियाले उनलाई ‘सिरियल किलर’ को रूपमा चित्रण गरेको आरोप लगाएकी थिइन् । अन्य प्रतिवादीमध्ये पाँच जनालाई दोषी ठहर गरियो तर कम सजाय दिइयो भने पाँच अन्यलाई निर्दोष ठहर गरियो ।

स्पेसएक्स स्टारसिप ‘नियमित’ परीक्षणका क्रममा विस्फोट

ह्युस्टन (अमेरिका)। टेक अर्बपति एलन मस्कको स्पेसएक्स स्टारसिप टेक्सासमा बुधबार राति नियमित परीक्षणका क्रममा विस्फोट भएको र कसैलाई चोट नलागेको कानून प्रवर्तन निकायले बताएको छ ।

स्टारसिप ३६ ले राति ११ः०० बजे (०४०० जिएमटी बिहीबार) पछि स्टारबेस प्रक्षेपण सुविधामा ‘विनाशकारी विफलता र विस्फोट’ भोगेको क्यामरन काउन्टी अधिकारीहरूले फेसबुक पोस्टमा बताएका छन् ।

मस्कको स्पेस एक्सले रकेटले दशौँ उडान परीक्षणको तयारी गरिरहेको बेला ‘स्टारबेसमा परीक्षण स्ट्यान्डमा हुँदा ठूलो समस्या अनुभव गरेको’ बताएको छ ।

“अपरेसनका क्रममा साइट वरपरको सुरक्षा खाली क्षेत्र कायम राखिएको थियो र सबै कर्मचारीहरू सुरक्षित छन् र हिसाब गरिएको छ”, स्पेस एक्सले सामाजिक सञ्जालमा भन्यो, “वरपरका समुदायका बासिन्दाहरूलाई कुनै खतरा छैन र हामी व्यक्तिहरूलाई सुरक्षा कार्यहरू जारी रहँदा त्यस क्षेत्रमा पुग्ने प्रयास नगर्न आग्रह गर्दछौँ ।”

मेक्सिकोको सीमा नजिकैको दक्षिण टेक्सास तटमा रहेको स्टारबेस मस्कको अन्तरिक्ष परियोजनाको मुख्यालय हो ।

चार सय तीन फिट (एक सय २३ मिटर) अग्लो स्टारसिप विश्वको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली रकेट हो र मङ्गल ग्रहमा उपनिवेश बनाउने मस्कको दीर्घकालीन दृष्टिकोणको केन्द्र हो ।

यो पछिल्लो असफलता मेको अन्त्यमा हिन्द महासागरमाथि स्टारसिप प्रोटोटाइपको विस्फोटपछि आएको हो ।

अहिलेसम्म निर्माण गरिएको सबैभन्दा ठूलो र शक्तिशाली प्रक्षेपण यान मे २७ मा स्टारबेस सुविधाबाट उडेको थियो, तर पहिलो चरणको सुपर हेभी बुस्टरले मेक्सिकोको खाडीमा योजनाबद्ध स्प्ल्यासडाउन गर्नुको सट्टा विस्फोट भयो ।

अघिल्ला दुई यात्रा पनि नराम्ररी समाप्त भएका थिए । माथिल्लो चरण क्यारेबियनमाथि टुक्रा–टुक्रा भएको थियो ।

इजरायल र इरानबाट आफ्ना नागरिकहरूको निकासीमा सरकारहरूको हतारो

हङकङ । विश्वभरका सरकारहरूले द्रुत गतिमा बढिरहेको इजरायल–इरान द्वन्द्वमा फसेका आफ्ना हजारौँ नागरिकलाई निकाल्ने प्रयास गरिरहेका छन् । उनीहरूले बस र विमानहरू व्यवस्थित गरिरहेका छन् र केही अवस्थामा मानिसहरूलाई पैदल सीमा पार गर्न मद्दत गरिरहेका छन् ।

गत शुक्रबार इजरायलले इरानको आणविक र सैन्य सुविधाहरूलाई लक्षित गरी अभूतपूर्व बम आक्रमण अभियान चलाएपछि तेहरानबाट बदलाको कारबाही सुरु भएकाले विदेशीहरूले दुवै देश छाड्न हतार गरेका छन् ।

तर इजरायलको हवाई क्षेत्र बन्द भएपछि र दुई देशले भारी क्षेप्यास्त्र प्रहार गर्दा धेरै मानिसलाई तेस्रो देशहरूबाट निकालिएको छ ।

– युरोप –

युरोपेली देशहरूले पहिले नै इजरायलबाट आफ्ना सयौँ नागरिकलाई स्वदेश फिर्ता गरिसकेका छन् । चेक गणतन्त्र र स्लोभाकियाले मङ्गलबार सरकारी विमानमा एक सय ८१ जनालाई स्वदेश फिर्ता गरेको बताएका छन् ।

“हवाई क्षेत्र बन्द भएकाले सेनाको विमान सिधै इजरायल पठाउन सम्भव भएन”, चेक रक्षा मन्त्रालयले एक वक्तव्यमा भन्यो, “उद्धार गरिएकाहरूलाई बसमार्फत छिमेकी देशको एउटा विमानस्थलमा लगियो । उनीहरूले पैदल सीमा पार गरे ।”

जर्मन सरकारले जोर्डन हुँदै बुधबार र बिहीबार उडानहरू तय गरिएको बताएको छ भने पोल्यान्डले आफ्ना नागरिकहरू मध्ये पहिलो समूह बुधबार फर्कने बताएको छ ।

ग्रिसले आफ्ना एक सय पाँच नागरिक र धेरै विदेशी नागरिकलाई इजिप्ट हुँदै स्वदेश फिर्ता गरेको बताएको छ । एक सय ४८ जना यात्रु बोकेको निजी विमान मङ्गलबार बुल्गेरियाको राजधानी सोफियामा अवतरण गरेको छ ।

– संयुक्त राज्य अमेरिका –

इजरायलका लागि अमेरिकी राजदूतले बुधबार हवाई र समुद्री मार्गबाट अमेरिकीहरूलाई निकाल्ने योजना घोषणा गरेका छन् ।

“दूतावासले इजरायल छोड्न चाहने अमेरिकी नागरिकहरूका लागि निकासी उडान र क्रूज जहाज प्रस्थानमा काम गरिरहेको छ”, राजदूत माइक हकाबीले एक्समा पोस्ट गरे ।

– अस्ट्रेलिया –

अस्ट्रेलियाले इरानबाट करिब एक हजार पाँच सय र इजरायलबाट एक हजार दुई सयभन्दा बढी नागरिक निकाल्न थालेको छ । तर अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले मिसाइल आक्रमणले नागरिक विमानहरू कुनै पनि देशमा अवतरण गर्न धेरै जोखिमपूर्ण बनाएको बताए ।

“त्यहाँ नागरिक विमानहरू भित्र ल्याउने क्षमता छैन, यो धेरै जोखिमपूर्ण छ र हवाई क्षेत्र बन्द छ”, उनले राष्ट्रिय प्रसारणकर्ता एबिसीलाई भने, “हामीले भूमि सीमा पार गरेर अस्ट्रेलियालीहरूको सानो समूहलाई इजरायलबाट बाहिर निकाल्ने अवसर लिएका छौँ । हामी आगामी २४ घण्टामा अझ बढी गर्ने प्रयास गरिरहेका छौँ ।”

– पाकिस्तान –

पाकिस्तानले आफ्नो घर फर्कन चाहने पाकिस्तानीहरू बाहेक छिमेकी इरानसँगको सीमा नाकाहरू बन्द गरेको छ । अहिलेसम्म कम्तीमा दुई सय विद्यार्थीसहित करिब एक हजार पाकिस्तानी भागेका छन् । इरानबाट कूटनीतिज्ञका परिवार र केही गैर–आवश्यक कर्मचारीहरूलाई बाहिर निकालिएको विदेश मन्त्रालयले जनाएको छ ।

– भारत –

आर्मेनियाबाट विशेष उडानमा इरानबाट करिब एक सय १० भारतीय विद्यार्थी निकालिएको भारतको विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।

– न्युजिल्यान्ड –

न्युजिल्यान्डले बिहीबार इरानमा रहेको आफ्नो दूतावास बन्द गरेको र दुई जना कर्मचारी र उनीहरूको परिवारलाई भूमिबाट अजरबैजानमा लगेको बताएको छ ।

“इरान र इजरायलमा अन्य न्युजिल्यान्डवासीहरूको प्रस्थानमा सहयोग गर्ने अवसरहरू आयो भने हामी उनीहरूलाई तुरुन्तै पछ्याउने छौँ”, विदेशमन्त्री विन्स्टन पिटर्सले एक विज्ञप्तिमा भने ।

– जापान –

जापानले इजरायलमा बस्ने करिब एक हजार र इरानमा करिब दुई सय ८० जापानी नागरिकका लागि सैन्य विमानहरूलाई तयारी अवस्थामा राख्न आदेश दिएको सरकारी मन्त्रीहरूले जनाएका छन् ।

इरान र इजरायलमा रहेका जापानी दूतावासहरूले छिमेकी देशहरूमा नागरिकहरू निकाल्न बसहरू प्रयोग गर्ने तयारी गरिरहेको एक सरकारी प्रवक्ताले बताए। युद्ध सातौँ दिनमा प्रवेश गरेको छ ।

निजामती विधेयकमा खुट्टा नकमाउन सरकारलाई एकीकृत समाजवादीको आग्रह

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत रूपमा पारित भएर आएको सङ्घीय निजामती सेवा विधेयक २५ जना सचिवले रोकेको भन्दै आपत्ति जनाएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा पाण्डेले विधेयकका सम्बन्धमा शीघ्र आवश्यक प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।

उनले दुई वर्षको ‘कुलिङ पिरियड’ हटाउन उच्च पदस्थका कर्मचारीले दबाब दिएपनि सरकारलाई खुट्टा नकमाउन आग्रह गरे ।

उनले भने, ‘कुलिङ पिरियड खारेज गराउनको लागि संयुक्त राजीनामा दिन्छौँ भनेर धम्की दिँदै विधेयक ल्याउन रोकावट भएको सुन्नमा आएको छ । सरकारले खुट्टा नकमाओस्, तुरुन्त ल्याओस् । २५ जना सचिवले राजीनामा दिन्छन् भने नयाँ सहसचिवले काम पाउँछन् । नयाँ व्यक्तिले जिम्मेवारी पाउँछन् ।’

मितेरी बचत ठगीः कम्बोडियामा पक्राउ अभियुक्तमाथि अनुसन्धान सुरु

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको करोडौँ रकम ठगी गरी फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

प्रहरी प्रधान कार्यालयबाट खटिइएको प्रहरीले टोलीले ४२ वर्षीय भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी बुधबार राति नेपाल ल्याएको थियो । सो सहकारीको एक सय ४४ जना बचतकर्ता र सञ्चालकसमेतको गरी रु १४ करोडबढी रकम ठगी गरेको मुद्दामा फरार तत्कालीन महाप्रबन्धक ज्योति गुरुङमार्फत उनले उक्त रकम लिएर विदेशमा लुकिछिपी बस्दै आएको अनुसन्धानबाट खुलेको छ । उनलाई पक्राउ गर्न प्रहरीले गत कात्तिक १३ गते ‘रेड नोटिस’ जारी गरेको थियो ।

मितेरी सहकारीका महाप्रबन्धक गुरुङले अपचलन गरेको करोडौँ रकम थाइल्याण्डमा बसोबास गर्ने भण्डारीले चलाएको र उनले सो रकम फिर्ता गराइदिने भनि सहकारीका पदाधिकारी र भण्डारीबीच सम्पर्क गराएको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिवादी भण्डारीले कास्की र बर्दियाबाट दुई वटा बेग्लाबेग्लै नागरिकता लिएको र सोही आधारमा दुई वटा राहदानी पनि लिएको पाइएको छ । उनले अन्य व्यक्तिहरुको राहदानी तथा नागरिकताको विवरण परिवर्तन गरी काल्पनिक व्यक्तिहरुको विवरण राखी कीर्ते गरेको नागरिकता र राहदानीलाई ठगी गर्न प्रयोग गरेको प्रहरीले जनाएको छ ।

न्याय परिषदको औचित्य समाप्त भएकाले विघटन गरौंः सांसद सिंह

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेता र न्यायाधीशहरुको कल डिटेल सार्वजनिक गर्न माग गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद सिंहले मुद्दा प्रभावित पार्न कानुनमन्त्रीले न्यायाधीशसँग कुरा गर्ने गरेको भन्दै नेता र न्यायाधीशको कल डिटेल सार्वजनिक गर्न माग गरेका हुन् ।

उनले भने, ‘कानूनमन्त्रीले बिहान बिहानै जिल्लाको मुद्दा प्रभावित गर्न परे एक नम्बर र उच्चमा छ भने मुद्दा प्रभावित पार्न मुख्य न्यायधीशलाई फोन गर्ने गरेको थाहा । कानूनमन्त्रीको कल डिटेल आयो भने थाहा हुन्छ । मन्त्रीले न्यापरिषद्मा कुरा राख्ने हो, न्यायाधीशलाई फोन गरेर न्यायलय प्रभावित गर्न पाइँदैन ।’

उनले कानूनमन्त्रीले न्यायाधीशलाई पटक–पटक फोन गरेको आफूसँग सूचना रहेको दाबी गरे । उनले कल डिटेल गल्ती भयो भने आफू सांसद पद त्याग्न समेत तयार रहेको बताए ।

सांसद सिंहले न्याय परिषदको औचित्य समेत समाप्त भएकाले विघटन गर्न माग गरे । उनले भने, ‘न्यायपरिषदको औचित्य आवश्यकता छैन । न्यायपरिषद एउटा सिन्डिकेट हो । त्यो सिन्डिकेट प्रणालीलाई समाप्त गर्नुपर्छ किनकि यो राजनीतिक सिन्डिकेट हो ।’

तिम्सिना फिलिपिन्सको गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मलेसियाका लागि नेपालका राजदूत डा नेत्रप्रसाद तिम्सिनालाई गणतन्त्र फिलिपिन्सका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसरमा बिहीबार राजदूत तिम्सिनालाई फिलिपिन्सको गैरआवासीय राजदूतमा नियुक्त गरेका हुन् राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

पर्वतमा नहर बनाएर बाढी नियन्त्रण

पर्वत। पर्वतको जलजला गाउँपालिका–७ धाइरिङस्थित गुन्टेखेत र सल्यानको बस्ती संरक्षणका लागि नहर निर्माण गरेर बाढी नियन्त्रण गरिएको छ । बस्तीभन्दा माथिबाट आउने बाढी र पहिरोका कारण बर्सेनि जोखिम बढ्दै गएपछि क्षति रोकथामका लागि नहर निर्माण गरिएको हो ।

गाउँभन्दा माथि रहेको नाथिमारेको डाँडाबाट खस्ने बुढीकुलोसहितको बाढीले सल्यानको बस्तीलाई जोखिममा पारेपछि बाढी नियन्त्रणका लागि वैकल्पिक नहर निर्माण गरिएको स्थानीय रुद्रलाल उपाध्यायले बताए । बाढीपहिरोको जोखिमका कारण वर्षायाममा त्रासमा बस्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीय दुर्गा पौडेलले बताए ।

ठोट्नेरी, धारापानी, गुन्टेखेत हुँदै बग्ने बुढीकुलोका कारण सल्यान गाउँ बाढीपहिरोको जोखिममा परेपछि गाउँपालिकाले चालु आर्थिक वर्षमा बस्ती संरक्षण योजना सञ्चालन गरेको थियो ।

पालिकाले विनियोजन गरेको ३५ लाख २० हजार लगातमा बाढी नियन्त्रण गर्न तीन सय ५० मिटर लामो नहर निर्माण गरिएको जलजला गाउँपालिकाका इञ्जिनियर सुनिल बानियाँले जानकारी दिए । गत माघ ७ गते जेठ मसान्तभित्र निर्माण सम्पन्न गर्न उपभोक्ता समितिसँग योजनाको सम्झौता गरिएको थियो । बूढीकुलो बाढी नियन्त्रण योजनाअन्तर्गत गुन्टेखेतमा कुलो निर्माण गरिएको उल्लेख गर्दै तोकिएको मितिमा निर्माणको सम्पन्न भएको उनले जानकारी दिए ।

गुन्टेखेत गाउँभन्दा माथिबाट पक्की नहर निर्माण गरेर बाढीलाई लुङ्दी खोलामा खसाल्ने गरी निर्माण गरिएको बूढीकुलो बाढी नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष गङ्गाधर आचार्यले बताए । बूढीकुलोमा पानीसँगै आएको बाढीले सल्यानको बस्तीलाई उच्च जोखिममा पारेपछि बस्ती संरक्षणका लागि वैकल्पिक नहर बनाएर पानीसहितको बाढी लुङ्दी खोलामा जाने व्यवस्था मिलाइएको उनले बताए ।

गत वर्ष बूढीकुलोमा आएको बाढीका कारण नाथिमारेबाट खसेको पहिरोले सल्यानको भिरकुना र गगनपानीमा घर तथा खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको थियो । बाढी खसेर स्थानीय रुद्रलाल उपाध्याय, गिरिधारी पौडेल, महानन्द पौडेल, माधवप्रसाद पाध्या, नारायणप्रसाद पाध्या, खेमराज पौडेल, दुर्गा पौडेललगायत स्थानीयको एक सय मुरी धान फल्ने खेत पुरिएको थियो भने पहिरो खसेर गगनपानीका चार घर उच्च जोखिमा परेका थिए ।

निर्माणाधीन मिलनचोक–सल्यान–गुन्टेखेत–घायखेत–धारापानी–ठोटनेरी सडक आयोजनाका कारण गाउँभरीको पानी बूढीकुलोमा जम्मा भएर सल्यानमाथिको डाँडाबाट बस्तीतिर खस्दा गाउँ जोखिममा परेपछि गुन्टेखेतबाट वैकल्पिक नहर निर्माण गरी लुङ्दी खोलामा पानी फाल्ने व्यवस्था गरिएको जलजला–७ का वडाध्यक्ष टुङ्गनाथ आचार्यले बताए । बाढी नियन्त्रण गर्न कुलो निर्माण गरेसँगै जोखिम कम हुने उनले विश्वास व्यक्त गरे ।

पर्यावरण संरक्षणमा उत्कृष्ट कोपिला भ्याली विद्यालय

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित कोपिला भ्याली स्कुल ‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार-२०२५’ को शीर्ष १० मा छनोट भएको छ। सो स्कुलले ‘टी फोर एजुकेसन’ लाई उद्धृत गर्दै विश्वको १० शीर्ष विद्यालयभित्र कोपिला भ्याली छनोट भएको जनाएको छ।

टी फोर एजुकेसनले विभिन्न विधामा विश्वका विद्यालयलाई पुरस्कार प्रदान गर्दै आएको छ। ‘वातावरणीय कार्य’ विधामा कोपिलाले उत्कृष्ट १० सूचीमा आफ्नो स्थान बनाएको हो।

कोपिला भ्याली समाजका अध्यक्ष टोपबहादुर मल्लले विद्यालयस्तरबाट पर्यावरण संरक्षणमा नेपाल पहिलो पटक विश्वकै १०औँ उत्कृष्ट विद्यालयको सूचीमा परेको जानकारी दिए। उनले भने, ‘यो नेपालीका लागि गर्वको कुरा हो। अब उत्कृष्ट हुन सबैको सहयोग आवश्यक छ।’

अध्यक्ष मल्लका अनुसार उत्कृष्ट १० मा पर्न सफल स्कुलले आगामी सन् २०२५ नोभेम्बर १५ देखि १६ तारिखसम्म यासिमा ब्रिटिस एकेडेमी, अबुधावी युएइमा हुने ‘विश्व स्कुल्स समिट’मा सहभागी हुन पाउने छ।

सो स्कुलका ‘प्रिन्सिपल’ राजेनकुमार कार्कीका अनुसार उत्कृष्ट दश विद्यालयबीचको आपसी प्रतिस्पर्धाबाट प्रथम आउन भोटको आवश्यक पर्छ। मतदान सुरु भइसकेको छ।

यसका लागि सम्पूर्ण नेपालीले जतिसक्दो कोपिला भ्यालीलाई मतदान गरी देशको सान, पहिचान र स्वाभिमानलाई विश्वमाझ चिनाउन सहयोग गर्न सरोकारवालालाई उनले आग्रह गरे।

अबुधावीमा हुने शिखर सम्मेलनमा विजेता घोषणा गरिने जनाइएको छ। वातावरणीय कार्य, समुदाय सहकार्य, नवप्रवर्तन, चुनौती पार गर्ने क्षमता र स्वस्थ जीवनशैली विधामा उत्कृष्ट दशवटा देशका विद्यालय छनोट भइसकेका छन् भने ५० राष्ट्र समिटमा सहभागी हुने टि फोरले जनाएको छ।

नागरिकता विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौं । ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८२ ’ प्रतिनिधिसभामा पेस भएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गरेका हुन् ।

आमाका नामबाट मात्र पनि नागरिकता प्रदान गर्न सकिनेगरी कानुनी व्यवस्था गर्न सरकारले ल्याएको उक्त विधेयक जेठ २८ गते समितिबाट सर्वसम्मतिले पारित भएको थियो । विधेयकमा आमा वा बाबुका नामबाट नागरिकता प्रदान गर्ने व्यवस्था गरिएको छ ।

प्रतिनिधिसभाबाट पारित भएपछि यो विधेयकको प्रतिवेदनलाई राष्ट्रिय सभामा पठाइनेछ । राष्ट्रिय सभाबाट पारित भएपछि सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनेछन्। राष्ट्रपतिले प्रमाणकीकरण गरेसँगै विधेयक ऐनका रुपमा कार्यान्वयनमा जानेछ।

निजामती विधेयक कार्यसूचीमा प्रवेश गरेर पनि हटाइएको भन्दै माओवादीको आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रले निजामती विधेयक तत्काल पारित गर्न माग गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले तत्काल विधेयक पारित गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

उनले संसदी समितिबाट पारित भएर संसद पुगेको विधेयक कार्यसूचीमा प्रवेश गरेर पनि हटाइएको उनले आपत्ति जनाए । उनले सरकारले बोल्ने एउटा र व्यवहार अर्को देखाउने गरेको बताए । पाण्डेले संघीय निजामती, विद्यालय शिक्षा र नागरिकता विधेयक समयमै पारित होस् भनेर प्रमुख प्रतिपक्षी दलले बारम्बार दबाब दिइरहेको भएपनि सरकारकै अनिच्छाको कारण ती विधेयक अहिलेसम्म अड्किएको बताए ।

बैठकमा नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले निजामती विधेयक तत्काल ल्याउन सरकारसँग माग गरे । उनले दुई वर्षको ‘कुलिङ पिरियड’ हटाउन उच्च पदस्थका कर्मचारीले दबाब दिएपछि सरकारलाई खुट्टा नकमाउन आग्रह गरे ।

उनले भने, ‘कुलिङ पिरियड खारेज गराउनको लागि संयुक्त राजीनामा दिन्छौँ भनेर धम्की दिँदै विधेयक ल्याउन रोकावट भएको सुन्नमा आएको छ । सरकारले खुट्टा नकमाओस्, तुरुन्त ल्याओस् । २५ जना सचिवले राजीनामा दिन्छन् भने नयाँ सहसचिवले काम पाउँछन् । नयाँ व्यक्तिले जिम्मेवारी पाउँछन् ।’

एकीकृत समाजवादीका सांसद थापाले च्याते बजेट पुस्तिका

काठमाडौं । एकजना सांसदले बजेटप्रति चित्त नबुझेको भन्दै सदनमै बजेट पुस्तिका च्यातेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीका सांसद अम्मरबहादुर थापाले आगामी आर्थिक वर्षको बजेट पुस्तक च्यातेका हुन् । उनले बजेट मन्त्री र नेतामुखी भएको भन्दै बजेट च्यात्नु परेको बताए ।

कोरोनाका बिरामी देखिँदै, सात दिनमा ३० जनामा सङ्क्रमण

काठमाडौँ । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरो, फ्लु जस्ता सङ्क्रमण देखिन थालेको हो ।

इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशन डा चन्द्रभाल झाले सीमा नाकामा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिले त्यो पनि घटेको गएको बताए । उनका अनुसार नेपाल–भारत सीमाको सिमानापर्ने कञ्चनपुरमा केही भारतबाट आउनेमा सङ्क्रमण देखिएका छन् ।

उनका अनुसार अहिलेसम्म (पुस १७ गते यता) १६० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो सात दिनमा ३० जना र २४ घण्टामा पाँच जनामा सङ्क्रमण देखिएको उनले बताए । सबैभन्दा बढी वागमती प्रदेशमा १२९, सुदूरपश्चिम प्रदेशमा १७, मधेश प्रदेशमा पाँच, कोशी तथा गण्डकी र लुम्बनी प्रदेशमा समान तीन/तीन जनामा सङक्रमण देखिएको छ ।

एन्टिजेन पठाइयो 

निर्देशक डा झाले कोरोना भाइरसको सङक्रमण देखिएका ठाउँमा एन्टिजेन पाइसकेको समेत जानकारी दिए । उनका अनुसार सीमा नाकामा परीक्षणका लागि अहिलेसम्म ६४० थान एन्टिजेन पाइसकेको छ । उनले सङक्रमणको जोखिमलाई ध्यान दिदै थप एन्टिजेन खरिद गर्ने प्रक्रियासमेत अगाडि बढाइएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलाका निर्देशक डा युवानिधि बसौलाले फाट्टफुट बिरामी उपचारका लागि अस्पतालमा आउने गरेको बताए ।

“मौसममा आएको परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरोका बिरामी आउने गरेका छन्”, उनले भने । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भारतमा सङ्क्रमण देखिएका कारणले नेपालमा पनि देखिएको बताए ।

“भारतमा देखिएपछि नेपालमा पनि फाट्टफुट बिरामी देखिएका हुन्”,उनले भने, “मौसम परिवर्तनसँगै फ्लुका बिरामी देखिएका हुन् ।” मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दिर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिम रहेको बताए ।

 

नेपालको सांस्कृतिक सम्पन्नता र आदिवासी जनजातिका सवाल

नेपाली संस्कृति भनेको समग्र नेपालका जात, जाति, जनजाति, आदिवासी, अल्पसंख्यक सबैका संस्कृतिको समष्टि हो । सबैका संस्कृतिको सम्पूर्णता नेपाली संस्कृति हो । एउटा मात्रै नेपाली संस्कृति भन्ने होइन । यो नेपाली संस्कृति, त्यो नेपाली संस्कृति होइन भन्ने कुरा होइन । हाम्रा सांस्कृतिक पहिचान, विविधता, गौरव, सम्पन्नता र वैभवलाई हामीले अगाडि बढाउनु पर्छ । यसका लागि आफ्ना ठाउँबाट कोसिस गरिएन भने अरुले कोसिस गर्दैन ।

नेपाली खाना भनेको के हो भन्दा सर्दर नेपालीहरुले जुन खाना खान्छन्, त्यही खाना नेपाली खाना हो । नेपाली पहिरन भनेको हामी नेपालीहरुले जुन पहिरन लगाउँछौं, त्यही पहिरन हो । गरिबीले नेपाली पहिरन लगाउन नपुग्नु, नसक्नु बेग्लै कुरा हो । र हामीले के बुझ्नु पर्छ अर्को भने हामीले केही केही कुरालाई एउटा साझा र औपचारिक रुपमा राष्ट्रियस्तरमा निर्धारण गरेका हुन्छौं, राष्ट्रिय पोशाक, औपचारिक पोशाक भन्ने तय गरेको हुन्छ । यसमा अस्पष्टता हुनु हुँदैन ।

यसमा अस्पष्टता के हुन जरुरी छैन भने, औपचारिक पोशाक भनेपछि, राष्ट्रिय पोशाकको पनि औपचारिक पोशाकका साथ उपस्थित हुने ठाउँहरु भनेर बुझिन्छ । त्यहाँ विभिन्न जातजातिका पहिरनले झिलिमिली बनाउने होइन । त्यो औपचारिक थलो हो । त्यसकारण त्यसमा औपचारिक पोशाक हुने गर्छ । जुन औपचारिक थलोभन्दा बढी हाम्रो सांस्कृतिक थलो हो, त्यहाँ हाम्रो विविधता झल्काउन हामीले ध्यान दिनुपर्छ । हाम्रो विविधता त्यहाँ झल्किनु पर्छ । हाम्रो सम्पन्नता त्यहाँ झल्किनु पर्छ । कुनै देशको राष्ट्रिय समग्र पहिचान केही हुँदैन भन्ने कुरा होइन । हाम्रा आ–आफ्ना जातीय पहिचान हुन्छन्, भाषिक पहिचान हुन्छन्, सांस्कृतिक पहिचान हुन्छन् र समग्र पहिचान पनि हुन्छ । हाम्रो समग्र पहिचान राष्ट्रिय झण्डा हो । पार्टीहरुका आफ्ना आफ्ना झण्डा छन् । आफ्ना आफ्ना संस्थाका झण्डा हुन सक्छन् । संस्था विशेषले झण्डा बनाएका छन्, ती पहिचान हुन् । ती झण्डा हुन् । तर हाम्रो राष्ट्रिय पहिचान फेरि सूर्य चन्द्र अंकित राष्ट्रिय झण्डा हो । त्यो राष्ट्रिय पहिचान हो । झण्डा जाति जातिका हुन्छन् ।

विभिन्न संस्था संस्थाका झण्डा हुन्छन्, विद्यार्थी विद्यार्थीका झण्डा हुन्छन्, विद्यार्थीको पनि एउटा मात्रै झण्डा हुन्छ र संगठन नै पिच्छेका झण्डा हुन्छन् । ती झण्डा बनाउन पाइन्छ, बोक्न पाइन्छ । तिनलाई आफ्नो पहिचानको रुपमा स्थापित गर्न पाइन्छ तर ती अराष्ट्रिय होइनन् । तर राष्ट्रिय झण्डा भन्दा फेरि चन्द्र सूर्य अंकित झण्डा नै बुझिन्छ । राष्ट्रिय होइन भन्यो भने फेरि मान्छेलाई चित्त दुख्छ । विद्यार्थीका झण्डा राष्ट्र विरोधी होइनन् तर राष्ट्रिय झण्डा भनेर तिनलाई भन्न मिल्दैन । ती राष्ट्रिय होइनन्, आफ्ना झण्डा हुन् । देशभित्रका हाम्रा भावनाका, हाम्रा गतिविधिका झण्डा हुन् ।

त्यस्तै हाम्रा आफ्ना आफ्ना थुप्रै कुराहरु हुन्छन् र राष्ट्रिय भन्ने पनि केही कुरा हुन्छ । राष्ट्रियभाव, राष्ट्रिय एकता, हामी आफू आफूका एकता हुन्छन्, अनि फेरि राष्ट्रिय एकता हुन्छ । यसमा थुप्रै कामहरु गर्नुपर्ने छ । यी कामहरुका लागि र यी भावनाहरुलाई एकजुट बनाउनका लागि उत्थान आवश्यक छ । जस्तो यहाँ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान भन्छौं हामी, यो उत्थानको कुरा महत्वपूर्ण कुरा हो । उद्देश्य नै उत्थान हो । उत्थान भएपछि असन्तुष्टिहरु समाप्त हुँदै जान्छ र कम हुँदै जान्छ ।

आफ्नो आफ्नो उत्थान भएको पाएपछि भोको पेटले मान्छे कसरी सन्तुष्ट हुन्छ र ? हुँदैन । नाङगो आङले कसरी सन्तुष्ट हुन्छ ? आवास छैन कसरी सन्तुष्ट हुन्छ ? बच्चाबच्ची पढाउन पाएको छैन, कसरी सन्तुष्ट हुन्छ ? सन्तुष्टिका लागि उत्थान हुनुपर्छ । उत्थान भनेको अभावहिनताको स्थिति हो । उत्थान भनेको क्षमता वृद्धिको स्थिति हो । त्यसकारण उत्थानबाट क्षमता वृद्धि, अभावहिनताको अवस्था अन्त्यको सिर्जना, अवसरहरुको उपलब्धता, क्षमता वृद्धिका अवसरहरु र त्यो क्षमता वृद्धि भइसकेपछि कार्यान्वयन गर्ने ठाउँको उपलब्धता आदि प्रश्नहरु ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई हामी दलीय आधारमा होइन, यसलाई साझा संस्थाको रुपमा लिएर जान्छौं । यो कुनै एउटा दल विशेषका लागि काम गर्ने पनि होइन । यो मुख्य रुपमा आदिवासी जनजातिहरुको उत्थानका लागिको संस्था हो भन्ने कुरो यसको नाम नै छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान । देशको ३५ प्रतिशत जनसंख्या यसभित्र समेटिन्छ । अर्थात् ३५ प्रतिशत जनसंख्याभित्र भएका समस्या र तिनको उजागर हुन्छ ।

मोटामोटी साधारण साझा समस्या त हामीले बुझेका छौं । साझा समस्या बाहेक विशिष्टिकृत समस्याहरु के छन् ? विशेष समस्या के छन् ? तिनीहरुको पहिचान र ती समस्याहरुको समाधान यस प्रतिष्ठानको उद्देश्य हो । त्यसकारण यसले साझा संस्थाको रुपमा काम गर्छ, दल विशेषको रुपमा होइन ।

यद्यपि हरेक व्यक्ति दलको कार्यकर्ता वा मतदाता छ भन्ने कुरा हामीलाई थाहा छ । हरेक व्यक्ति कुनै न कुनै दलको या कार्यकर्ता हुन्छ या मतदाता हुन्छ । कम्तिमा मतदाता हुन्छ, कसैले न कसैलाई मत दिन्छ नै । मानिस भनेको एउटा राजनीतिक प्राणी भएको हुनाले उसमा राजनीतिक सोच राजनीतिक चिन्तन हुन्छ । त्योसँग हामी पूर्वाग्रही हुनुपर्ने कुनै अर्थ र आवश्यकता छैन । हामी राजनीतिक मतभेदलाई सहन्छौं तर यो राजनीतिक मतभेद ल्याएर पोख्ने र छिरल्ने ठाउँ होइन । राजनीतिक मतभेद आफ्ना आफ्ना ठाउँमा होलान्, राजनीतिक मतभेद पार्टीहरुले गर्छन् । यस ठाउँमा हामी राजनीतिक मतभेद होइन, एउटा साझा भावनाका साथ अगाडि बढ्छौं ।

अर्को कुरा, हामी ३७ प्रतिशत जनसंख्या, त्यस जनसंख्याको प्रतिनिधित्व गरिरहँदा के पनि बुझ्छौं भने फेरि ६३ प्रतिशत जनसंख्या हामी भन्दा बाहिर छ । उनीहरुसँग पनि हामी संगसंगै जाने हो । मिलेर जाने हो । एकताबद्ध भएर जाने हो । र हाम्रो ३७ प्रतिशतका विशेष समस्या बाहेक साझा समस्या पनि त छन् नि फेरी शतप्रतिशतका साझा समस्या छन् नि, ती शतप्रतिशतका साझा समस्यालाई कसरी सम्बोधन गर्ने एउटा कुरा, हाम्रो समस्या समाधान गर्दा गर्दै अरु ६३ प्रतिशतका पनि समस्या समाधान हुन्छन् कतिपय, त्यसको अन्तर सम्बन्ध हुन्छ । यसैमार्फत् पनि अरुका समस्या पनि समाधान हुन्छन् । त्यसमा कसरी योगदान गर्ने र त्यसरी नहुने समस्याहरु, पृथक समस्याहरुप्रति पनि हाम्रो ध्यान जानेछ र हामी कसरी ती अरु पृथक समस्याहरुलाई पनि सम्बोधन गर्ने तर्फ ध्यान दिन्छौं र अरुलाई पनि दिन सक्छौं । ती कुराहरु तर्फ पनि हामी ध्यान दिन्छौं ।

अर्कोतिर हामी जाति जनजातिका कुरा गरिराखेका छौं । तर यसको अर्थ जाति जनजातिका कुरा गरिरहदा हामीले जातीय साम्प्रदायिकता, साम्प्रदायिक विद्वेष वा जातीय वैमनस्यता, दूरी, चिसोपन यस्तो खोजेको होइन । यसबाट हामी जातिहरुका बीचमा सम्झदारी, एकता वृद्धि गर्दै लादै र सामाजिक न्याय र समानताको बाटोबाट सबैको उत्थानका अधिकार र अवसरहरुको स्थापना र कार्यान्वयनमार्फत् सामाजिक सद्भाव कायम गर्ने र सामाजिक सद्भावमार्फत् राष्ट्रिय एकता बलियो बनाउने, राष्ट्रिय एकता कायम गर्ने र राष्ट्र निर्माणमा सबै आफ्नो आफ्नो ढंगले जुट्नु पर्छ । आ–आफ्नो ठाउँमा आआफ्नो पेशा, आआफ्नो व्यवसायबाट जुट्नु पर्छ ।

यसका निम्ति मैले थाहा पाएको छु, अहिले भर्खरै पनि भन्नुभयो स्वागत मन्तव्यको क्रममा कि हाम्रो आफ्नै कार्यालय भवन नभएको हुनाले हामीले विभिन्न समयमा डेराका भाडाका ठाउँहरु खोज्दै हिँड्नु परिरहेको छ । त्यस स्थितिको अन्त्य गरिनुपर्छ । यत्रो प्रतिष्ठानको आफ्नै भवन आवश्यक छ र यस्तो भवनको निर्माणमा सरकारको पनि ध्यान जानुपर्छ, प्रतिष्ठानको पनि ध्यान जानुपर्छ । प्रतिष्ठानको अध्यक्षको हैसियतले मेरो ध्यान गएको छ र प्रतिष्ठानको अध्यक्ष भनेको प्रधानमन्त्री हुने गर्छ ।

प्रधानमन्त्रीको हैसियतमा पनि यसमा मेरो ध्यान गएको छ र यसलाई मन्त्रालयगत ढंगले अगाडि बढाउनका लागि मन्त्रीजी उपस्थित नै हुनुहुन्छ सहध्यक्षको रुपमा । त्यसो भएर यसलाई अगाडि बढाउने कुरा मन्त्रीजीले पनि ध्यान दिनु हुनेछ । प्रतिष्ठानले पनि ध्यान दिनेछ । खास गरेर हाम्रो कार्यकारी साथीहरुले ध्यान दिनु हुनेछ ।

एउटा मलाई खुशी र ठूलो गर्व के लाग्छ भने, यो सांस्कृतिक एक ढंगले डोमिनेसन, थिचोमिचो, अतिक्रमण भइराखेको बेला नेपालका जाति जनजातिहरुले आफ्नो आफ्नो संस्कृतिमा आजको दुनियाँमा सांस्कृतिक गौरव गरेर सांस्कृतिक गौरवमार्फत् आफ्नो पहिचान खोजिरहेको र आफ्नो पहिरनको प्रेम, आफ्नो भाषाको प्रेम आदि कुराहरु जुन छ, त्यो अत्यन्तै सराहनीय कुरा छ । वास्तवमा नेपालको पहिचान, नेपालको सांस्कृतिक सम्पन्नताको पहिचान, यो कुराहरुमा अग्रणी देख्छु म आदिवासी जनजातिहरुलाई । आदिवासी जनजातिहरुले आफ्नो पहिरन, आफ्नो पहिचान जस्ता कुराहरुमा गर्व गरेको देखिन्छ र त्यो गर्व गर्नुपर्दछ । यसको म प्रशंसा गर्दछु ।

हाम्रो संस्कृति मर्न दिनु हुँदैन । संस्कृति भनेको अमूर्त पनि हुन्छ र मुर्तमुर्त पनि हुन्छ । अमूर्त मुर्त दुईवटै खालका हुन्छ । यसमा हाम्रा गीत, हाम्रा भाका, हाम्रा बाजा अत्यन्त महत्वपूर्ण छन् । हाम्रा नृत्यहरु अत्यन्त महत्वपूर्ण छन् । इतिहासमा यिनको प्रारम्भ कसरी भयो होला, विकास कसरी भयो होला, यी बाजाहरुको उत्थान र आविष्कार कसरी भयो होला, यो असाधारण कुरा छ । संगीत कसरी विकास भयो होला, आफ्ना आफ्ना ठाउँमा आफ्ना आफ्ना खालका संगीत, आफ्ना आफ्ना खालका वाद्यवादन विकास गरेको छ । अलिअलि केही केही कुराहरुमा सिको गरेको देखिन्छ । नत्र भने विकास गरेको देखिन्छ । यो विकास गर्नु साह्रै महत्वको कुरा हो । आपूm आपूmले विकास गरेको देखिन्छ । मुुर्चुङ्गा बिनायो अन्त कही कतैबाट सिकेको देखिंदैन । आफैँले विकास गर्दै जादा, घाँस दाउरा गर्दै जाँदा विकास भएको होला । यस्तै थुप्रै मौलिक खालका बाजाहरु हाम्रा आफ्नै छन् । केही सिकिएका बाजाहरु होलान् । डम्फु सिकिएको बाजा देखिंदैन । आफ्नै देखिन्छ । यस्ता थुप्रै बाजाहरु आफ्नै खालका छन् । खास गरी यी आदि बाजाहरु जसरी हामीले जीवित राखेका छौं, यसलाई जीवित राख्नुपर्छ ।

सांस्कृतिक भेषभुषालाई हामीले एकातिर जीवित पनि राख्नुपर्छ, अर्को मोर्डनाइज पनि गर्नुपर्छ । किनभने पहिले गरिबीको अवस्थामा, पछौंटेपनको अवस्थामा अहिले अब केही केही जोगी बाबाजीहरुले सिलाएर नलाउने बेलाको जमानाको निरन्तरता दिंदै, त्यसबेलाका ऋषि महर्षिका पहिरनको निरन्तरता दिंदै अहिले पनि त्यही नसिलाएकै कपडा लगाउने गरेका छन् । अब उहाँँहरुको विश्वास हो, उहाँहरुको आस्था हो । म त्यसमा केही भन्न चाहन्नँ । तर मेरो विचारमा त्यसबेला लुगा सिलाउने विधि प्रविधि प्रयोग नभइसक्दा खास गरी यो जनावरका छाला, रुखका केही केही त्यान्द्रा लहरा बाँधेर हिंड्ने त्यस्ता कुराहरुबाट सुरु हुँदै गएर मृग चर्म आदिबाट कपडामा पुग्दा खेरि पनि भएको सिलाई भन्दा अगाडिको जमानाको कुरा हो । त्यसलाई निरन्तरता दिइराखेको देखिन्छ । हामीले त्यस्तै गरेर पुराना कुराहरुलाई आजको सभ्य समाजको सभ्य पहिरन नै यही हो भन्ठान्यौ भने हुँदैन । त्यसलाई हामीले मोडिफाई गर्नुपर्ने हुन्छ र कुन ठाउँमा ती कुराहरु प्रयोग गर्ने, कुन ठाउँमा नगर्ने भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ भन्ने लाग्छ । छलफलका थुप्रो विषयहरु हुन सक्छन् र छन् ।

हामीले विभिन्न रायहरु सुन्न र त्यसमा मन्थन गर्न र ती रायहरुमार्फत् विकास गर्न, नीतिहरु निर्माण गर्न र हामी अगाडि बढ्न आवश्यक छ । भूगोल अनुसारका पहिरन विकास भएका हुन्छन् । तापमान अनुसारका पहिरन विकास भएका हुन्छन् । ती कुराहरुलाई हामीले ध्यान दिन जरुरी छ । जे होस् हामी केही गरिराखेका छौं, केही गरेका छौं तर अझै धेरै गर्न बाँकी छ ।

नेपालमा हामीले ठूलो परिवर्तन ल्याएका छौं । राजनीतिक परिवर्तन मात्रै होइन, आर्थिक परिवर्तन पनि ल्याएका छौं । सामाजिक, सांस्कृतिक परिवर्तन, उत्थान र जागरण ल्याएका छौं । असाधारण जागरण आएको छ । यो बहुदलीय प्रणालीको स्थापना भएपछि ०४६ सालको ऐठनबाट मुक्त भएपछि, ०४६ सालसम्म एउटा ऐठनको समय थियो । त्यसबाट मुक्त भएपछि हरेक क्षेत्रमा ठूलो परिवर्तन ल्याएका छौं । त्यस परिवर्तनमा आफ्ना नआफ्नो ढंगले सबैको भूमिका महत्वपूर्ण छ । लोकतन्त्रको सुरुमा लोकतन्त्र कस्तो हो, के हो, कसरी लागु गर्ने भन्ने सन्दर्भमा मतभेद देखिनु, विविधता देखिनु प्रयोगमा कमीकमजोरी देखिनु धेरै ठूलो अस्वाभाविक कुरा पनि होइन । त्यस्ता कुराहरुलाई हामीले सच्याएर अगाडि जानेछौं ।

हामीले विकास गरेका छौं । आर्थिक उन्नति पनि गरेका छौं । गाउँ घरतिर पनि विकास भएको छ । व्यवस्थामा परिवर्तन आयो अवस्थामा परिवर्तन आएन भन्ने एउटा फोस्रो लय मिलाउने कुरा हो त्यो । व्यवस्था र अवस्था भन्ने लय मिलाएर व्यवस्थामा परिवर्तन आयो अवस्थामा आएन भनेर लय त मिल्यो तर यथार्थ मिलेन । यथार्थलाई ढाक्नका लागि त्यो लयले भ्याउँदैन र काम गर्न सक्दैन । यत्रो परिवर्तन भएको छ, यत्रो विकास भएको छ । त्यसकारण यस विकासलाई, यस परिवर्तनलाई र उत्थानलाई हामीले निरन्तरता दिनु र अगाडि बढाउनु पर्ने छ ।

(प्रधानमन्त्री केपी शर्मा ओलीले १९ जेठ २०८२ मा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद्को २५ औं बैठकमा व्यक्त गर्नुभएको विचारका आधारमा प्रधानमन्त्रीको स्वकीय सचिवालयबाट तयार गरिएको ।)

एलडिसी स्तरोन्नतिबाट सिर्जित अवसरको क्षेत्र पहिचान र दिगो व्यवस्थापनमा लाग्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासशील मुलुकमा नेपालको स्तरोन्नतिबाट सिर्जना हुने अवसरका क्षेत्र पहिचान र तिनको दिगो व्यवस्थापनका लागि कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा लाग्न राष्ट्रिय योजना आयोग र विषयगत मन्त्रालयलाई आग्रह गरेका छन् ।

आयोगले बिहीबार आयोजना गरेको ‘अतिकम विकसित मुलुकको समूहबाट विकासशील समूहमा स्तरोन्नतिः चुनौती र आगामी योजना’ विषय राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले स्तरोन्नतिलाई दिगो बनाउन सोह्रौँ योजना र अन्य क्षेत्रगत नीतिहरुमा आन्तरिकीकरण तथा अन्तरआबद्धता गर्दै कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औँल्याए ।

‘स्तरोन्नतिपश्चात अन्तरराष्ट्रिय व्यापार, विकास सहायता परिचालान, दिगो विकास लक्ष्यको कार्यान्वयन, सार्वजनिक तथा निजी क्षेत्रको प्राविधिक क्षमता अभिवृद्धि, विपद् तथा जलवायु परिवर्तन व्यवस्थापनलगायतका आर्थिक र प्राविधिक विषयमा थप दायित्व सिर्जना हुनेछ’, उपप्रधानमन्त्री पौडेलले भने, ‘यसका निमित्त तीनै तहका सरकार, निजी क्षेत्र, गैरसरकारी क्षेत्र र विकास साझेदारबीचको समन्वय र सहकार्य जरुरी छ ।’

दिगो विकास र नेपालले लिएको विकासका लक्ष्य प्राप्तिका लागि ठूलो मात्रामा लगानीको आवश्यकता रहेको उल्लेख गर्दै उनले विदेशी लगानीको आप्रवाह तथा विकास सहायता परिचालनमा देखिएको प्रवृत्ति र संरचनागत समस्यालाई दृष्टिगत गरी सरकारले विकास वित्तको आवश्यकता पूरा गर्न वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक संसद्मा पेस गरेको स्पष्ट पारे ।

‘सहायता परिचालनलाई प्रभावकारी बनाउन वैदेशिक सहायता परिचालन नीति, २०८२ जारी भएको छ, लगानीको वातावरण सुधार गर्न निजी क्षेत्रको सहकार्यमा लगानीसँग सम्बन्धित विभिन्न कानुन परिमार्जन गरिएको छ’, पौडेलले भने, ‘यसबाट वैदेशिक लगानी आप्रवाह र निजी लगानी विस्तार भई पूर्वाधार निर्माण र आर्थिक क्रियाकलाप विस्तार हुने अपेक्षा गरिएको छ ।’

अन्तर्राष्ट्रिय व्यापारलाई दिगो बनाउन नेपालको निर्यात क्षेत्र वृद्धि गर्नुपर्नेमा जोड दिँदै उनले उत्पादन तथा उत्पादकत्व वृद्धि, व्यापारको देशगत विविधीकरण, भौतिक सम्पत्ति संरक्षण र प्रवद्र्धन, द्विपक्षीय तथा बहुपक्षीय व्यापार सम्झौता कार्यान्वयनमा अग्रसर हुन आग्रह गरे।

विपद् तथा जलवायु परिवर्तनको असरबाट नागरिक र अर्थतन्त्रको उत्थानशीलता विकास गर्नु नेपालका लागि चुनौतीपूर्ण देखिएको उनको भनाइ छ ।

‘नेपालले कार्यान्वयनमा प्राथमिकता दिएको दिगो विकासका लक्ष्य हासिल गर्ने, हरित अर्थतन्त्रको विकास गर्ने, जलवायुसम्बन्धी विश्वव्यापी कोषको पहुँच कायम गर्दै उत्थानशीलता विकास गर्नुपर्छ’, उपप्रधामन्त्री पौडेलले भने, ‘यसका लागि आवश्यक पर्ने उच्च लागत र प्राविधिक दक्षताका लागि नेपाललाई विकास साझेदार र विश्व समुदायको सहयोग आवश्यक छ ।’

उनले उच्च र दिगो आर्थिक वृद्धि, रोजगार सिर्जना, गुणस्तरीय मानव पूँजी विकास, हरित अर्थतन्त्रको प्रवद्र्धन, सामाजिक समावेशीकरण एवं लगानी तथा व्यापार प्रवद्र्धनका माध्यमबाट नेपालले आर्थिक वृद्धिको मार्गमा रहेका चुनौतीलाई सामना गर्न सकिने बताए।

यो चुनौती समाधान गर्न सरकार, निजी क्षेत्र, सहकारी, गैरसरकारी तथा समाजिक सङ्घसंस्था एवं विकास साझेदारबीचको सहयोग र सहकार्य अझ घनिष्ठ बनाउनुपर्नेमा उनले जोड दिए ।

आइसिसी क्रिकेटः नेपाल लगातार दोस्रो जितको खोजीमा

 

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलामा नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ ।

स्कटल्याण्डको ग्लासगोमा आज हुने खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ । उक्त खेल नेपाली समयअनुसार साझ ७ः४५ बजेदेखि सुरु  हुनेछ । आज नेपाल नेदरल्यान्डसलाई हराउँदै अघिल्लो खेलको बदलासहित प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ । यस अघि सोमबार भएको पहिलो भेटमा नेपाल नेदरल्यान्डसँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।

त्यसैगरी मङ्गलबार भएको आफनो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई दुई विकेटले पराजित गरेको थियो । सिरिजको अन्तिम खेल खेल्दै गरेको नेदरल्याण्ड्स दुई खेलमा जित हासिल गर्दै चार अङ्का साथ तालिकाको शीर्ष स्थानमा छ ।

त्यस्तै यसअघिका दुईमध्ये एकमा जित र एकमा हार बेहोरेको नेपाल भने दुई अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ ।  स्कटल्याण्ड भने अङ्क तालिकाको दोस्रो स्थानमा छ । डबल राउण्ड रोबिन लिगपछि शीर्ष स्थान हासिल गर्ने टोलीले उक्त प्रतियोगिताको उपाधि जित्नेछ ।

इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ बस्ने दाङ घोराही उपमहानगरपालिका–१६ घर भएका १९ वर्षीय दर्शन खड्का र तारकेश्वर नगरपालिका–३ बस्ने गोरखा धार्चे गाउँपालिका–५ घर भएका ३७ वर्षीय सरेश गुरूङ रहेका छन् ।

प्रहरीका अनुसार पक्राउमध्ये दर्शनले इटाली पठाइदिन्छु भन्दै ३ जना पीडितबाट ६ लाख रूपैयाँ र सरेशले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितबाट ४ लाख रूपैयाँ लिएका थिए । त्यसपछि दुवैजना फरार भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दर्शनलाई काठमाडौं महानगरपालिका–७ बाट बुधबार र सरेशलाई काठमाडौं महानगरपालिका–२६ बाट मंगलबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

म्यान्माकी नेतृ आङ सान सुकीले जेलमै मनाइन् ८०औँ जन्मदिन

याङ्गुन । म्यान्माकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार आफ्नो ८०औँ जन्मदिन सैन्य सरकारको हिरासतमा मनाएकी छन् । हिरासतमा उनले आफ्नो बाँकी जीवनभर चल्ने सजायहरू भोगिरहेकी छन् ।

सुकी म्यान्माको एक दशकको लोकतान्त्रिक सुधारकालको प्रतिनिधि व्यक्तित्व थिइन् र सैन्य शासनबाट खुल्दै गर्दा उनी वास्तविक नेत्री बनेकी थिइन् ।

तर सन् २०२१ को विद्रोहमा जनरलहरूले सत्ता फिर्ता लिएपछि उनी भ्रष्टाचारदेखि लिएर कोभिड–१९ महामारीको प्रतिबन्ध उल्लङ्घन गर्ने अभियोगमा बन्दी बनाइन् र २७ वर्षको सजाय भोगिरहेकी छन् ।

“यो क्षणमा उत्सव मनाउन गाह्रो हुनेछ”, बेलायतका उनका ४७ वर्षीय छोरा किम एरिसले भने, “यो यति लामो समयदेखि चलिरहेकाले हामीले सहन सिकेका छौँ ।”

उनले आफ्नी आमाको जन्मदिनसम्मका आठ दिनमा ८० किलोमिटर (५० माइल) दौडिरहेको छ र आफ्नी आमाका लागि ८० हजारभन्दा बढी शुभकामना भिडियो सन्देशहरू सङ्कलन गरेका छन् ।

तर सुकीले ती देख्न पाउने छैनन् । उनी म्यान्माको फैलिएको राजधानी नेपिडोमा एकान्तमा छिन्, जहाँबाट सेनाले गुरिल्ला लडाकूहरूविरुद्ध गृहयुद्धको निर्देशन गर्छ ।

एरिसले आफ्नी आमा जेल परेदेखि दुई वर्षअघि पत्रमार्फत एक पटक मात्र आफ्नी आमाबाट सुनेको बताए ।
“उहाँको अवस्था कस्तो छ हामीलाई थाहा छैन”, उनले भने । उनले आफ्नी आमाले मुटु, हड्डी र दाँतको समस्याको उपचार नपाएर पीडा भोगिरहेको हुनसक्ने डर व्यक्त गरे ।

पर्यटक लोभ्याउँदै लमजुङको भुजुुङ गाउँ

गण्डकी । ढुङ्गा र जस्ताले छाएका गुजुमुज्ज घरहरू, ढुङ्गाले छापिएका चोक र बाटो । प्राचीन मौलिक गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालयझैँ छ, लमजुङको क्व्होलासोथार गाउँपालिका–४ स्थित भुजुङ । एउटै वडा एउटै गाउँ हो भुजुङ ।

जिल्लाकै ठूलो र सिरान गाउँको रूपमा परिचित भुजुङ समुद्री सतहदेखि करिब एक हजार ६०० मिटरको उचाइमा छ । गाउँको उत्तरतर्फ घना जङ्गल, घाँसे मैदान र खर्कका साथै लमजुङ हिमाल, अन्नपूर्ण हिमाल देखिन्छ । गुुरुङ समुदायका परम्परागत रीतिरिवाज, वेषभूषा, भाषा, संस्कृति र पहिचानलाई जीवन्त राखिएको भुजुङ समाजका पूर्व अध्यक्ष तथा घरबास सञ्चालक रामचन्द्र गुरुङले बताए ।

उनले प्राचीन शैलीका घुमाउने घर जस्ता संरचनाले यहाँ आउने जो कोही लोभिने बताए । कूल ५०० घरधुरी रहेको यस गाउँमा ३३ घरमा घरबास सञ्चालन गरिएका छन् । भुजुङ सामुदायिक होमस्टेका अध्यक्ष तुलबहादुर गुरुङका अनुुसार गाउँमा २०६३ सालदेखि घरबास सञ्चालन गरिएको हो । हाल घरबासमा दैनिक ५० देखि ६० जना पर्यटक आउने गर्छन् ।

पर्यटकलाई स्थानीयले आतिथ्यतासँगै कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक, निउरो, कुरिलो, पिँडालुका परिकार र कोदोको रक्सी, खसी कुखुराको मासु ख्वाउने गरेका छन् । स्थानीयले भुजुङलाई लुकेको गाउँसमेत भन्न रुचाउँछन् ।

यस गाउँमा ९० प्रतिशत गुरुङ छन् । त्यसैले गुुरुङ समुदायको संस्कार र संस्कृति नियाल्ने महत्वपूर्ण थलो बनेको छ । गाउँको सौन्दर्यता, संस्कार र संस्कृतिको जगेर्ना गर्दै गाउँलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने लक्ष्य स्थानीयको छ ।

गाउँका प्राचीन गुम्बा, चिया बगान, सन्तानेश्वर महादेव मन्दिरलाई पर्यटकीय रुपमा उपयोग गरिने होमस्टेका अध्यक्ष तुलबहादुर गुरुङले बताए । सन्तान प्राप्त नभएका दम्पत्तिले यहाँस्थित सन्तानेश्वर महादेव मन्दिरमा पूजाआजा गरेमा सन्तान प्राप्त हुने विश्वास छ ।

यहाँ पहिलो पटक २०६४ सालमा भुजुङ महोत्सव आयोजना गरिएको थियो । त्यसयता विभिन्न चरणमा प्रवद्र्धनात्मक कार्यक्रम गरिँदै आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीयको आय–आर्जनका लागि घरबास पर्यटन सुरुवात गरिएको थियो । सो कार्य नै यहाँको पर्यटकीय विकासका लागि बरदान सावित भएको छ । सुरुमा १५ वटा घरबाट सुरु गरिएको घरबास अहिले ३३ घरमा विस्तार भएको छ ।

भुजुङको पर्यटकीय विकासलाई लक्षित गरी यस गाउँलाई गुुरुङ सम्पदा पदमार्गमा समेटिएको गुुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवम् गुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोबरजङ्ग गुरुङले बताए ।

‘कास्की, लमजुङलगायत यहाँका विभिन्न गुरुङ गाउँबाट सुरु गरी दूधपोखरी, गुरुङ देउरालीलगायतका स्थान समेट्दै प्राचीन नून बोक्न जाने मार्ग, भेडीगोठ र खर्क जोड्ने मार्गलाई हामीले गुरुङ सम्पदा पदमार्गका रुपमा विकास गर्न खोजेका छौँ’, उनले भने, ‘यस पदमार्गमा भुजुङलगायतका गाउँलाई पदयात्रा पर्यटनसँग जोड्दै स्थानीयको आयआर्जन बढाउने लक्ष्य छ ।’

सङ्घको आयोजना एवम् नेपाल पर्यटन बोर्ड, क्होलासोथर गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकाको सहयोगमा हालै भुजुङसहित सिङ्दी, पसगाउँ, घनपोखरा हुँदै चार हजार ६०० मिटर उचाइको धार्मिक पर्यटकीय गन्तव्य दूधपोखरीसम्म खोज तथा अन्वेषणत्मक पदयात्रा गरिएको छ ।

जथाभावी बाटो खन्दा पदमार्ग मासिँदै गएकाले पदयात्रा पर्यटनको महत्वपूर्ण विकल्पका रुपमा गुरुङ सम्पदा पदमार्ग विकास गर्न लागिएको सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले जानकारी दिइन् ।

डडेल्धुरामा सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ। जोगबुडास्थित इलाका प्रहरी कार्यालयका प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो ।

तत्काल अस्पताल पुर्‍याइएका निजको उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिवशंकर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए ।

पशुपति शर्माको ‘झोले त तैं, झोले त मैं’

काठमाडौं । गायक पशुपति शर्माले व्यंगात्मक गीत ‘झोले त तैं, झोले त मैं’ ल्याएका छन् । यो गीतमा पशुपतिको एकल स्वर छ भने यसको शब्द र संगीत पनि उनकै हो ।

गीतमा पशुपतिले राजनीतिक दल, नेतादेखि कार्यकर्तासम्मलाई व्यंग्य गरेका छन् । गीतको भिडियोमा पशुपति स्वयंले अभिनय गरेका छन् ।

जेरी भण्डारीको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडियोमा नवराज उप्रेतीको छायाँकन, सुजन कोइरालाको सम्पादन छ ।

भिजिट भिसा प्रकरणमा रास्वपा संसदमा अझ सशक्तरुपमा प्रस्तुत हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा संसदमा अझ सशक्तरुपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिएको छ ।

बिहीबार बसेको पार्टीको सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा संसदमा संसदीय दलको प्रयास प्रशंसनीय रहेको ठहर गर्दै अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।

बैठकमा पार्टी सभापति रवि लामिछानेमाथि लगाइएको झुट्टा र प्रतिशोधपूर्ण मुद्दाको वर्तमान अवस्था र भिजिट भिसा काण्डमा पार्टीको संसदीय गतिविधिबारे गहन छलफल भएको थियो ।

त्यस्तै बैठकले नीति तथा विचार विभाग प्रमुखमा डा. स्वर्णिम वाग्ले, उपप्रमुख सन्तोष परियार, अभियान तथा प्रचारप्रसार विभाग प्रमुखमा मनिष झा, कृषि विभाग प्रमुखमा राजन गौतमलाई जिम्मेवारी दिएको छ ।

त्यस्तै विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने र ‘सहकार्य–संवाद कार्यदल’ गठन गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै रास्वपाले असार ७ गते बिहान ९ बजे ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवद्र्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

 

रैथाने धान लगाउने किसानलाई प्रतिमुरी एकहजार अनुदान

बलेवा (बागलुङ) । ‘हाइब्रिड’ बीउबिजनले कृषि क्षेत्रका पुराना जातहरु लोपजस्तै भएका छन् । रैथाने बाली संरक्षणका लागि थोरै मात्र कार्यक्रम आएका छन् । यसै सन्दर्भमा बागलुङ नगरपालिका–१३ बलेवाको पैयुँपाटाले रैथाने धान संरक्षण गर्ने किसानलाई अनुदान दिने भएको छ ।

किसानको उत्पादनको आधारमा वडाले अनुदान कार्यक्रम घोषणा गरेको हो । वडा कार्यसमितिले निर्णय गरेर रैथानेका लागि तोकिएका पाँच थरी धानको उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको हो ।

आगामी आर्थिक वर्षको बजेटबाट प्रतिमुरी एक/एक हजार अनुदान दिइने वडाध्यक्ष नारायण शर्मा पौडेलले बताए । वडा समितिले रैथाने जातमध्येबाट अनादी, झिनुवा, रमनी, जर्नेली र आँगा जातको धान लगाउने किसानलाई वडाले अनुदान दिन लागेको हो ।

आगामी मङ्सिरमा किसानको खेतमै पुगेर धान भरेपछि नगद हातमा राख्ने गरी बजेट समेत विनियोजन गरिएको पौडेलले जानकार दिए । “तोकिएको धान लगाएका किसानले असार साउनमै सूचना दिनुहुन्छ, त्यसको रेकर्ड पनि वडाले राख्छ”, पौडेलले भने, “वडा समितिका पदाधिकारीकै उपस्थितिमा किसानको धान थन्क्याउने योजना पनि बनाइन्छ ।”

एकै दिन धेरै किसानको धान थन्क्याउने अवस्था आइपरेमा वडा समितिले टोल विकास समितिलाई पनि काममा खटाउन सक्नेछ । लोपोन्मुख धान भएकोले जोगाउन यो विधि र नीति लागू गर्न लागेको उनले बताए । पहिलो चरणमा किसानलाई अनुदान दिन वडाले ५० हजार विनियोजन गरेको हो ।

यसअघि केही किसानले मात्रै परम्परागत धान उत्पादन गर्दै आएका छन् । हाइब्रिडले रैथानेको बीउ मासिन सक्ने अवस्था आएपछि संरक्षणका लागि पनि यो निर्णयमा वडा समिति पुगेको हो । यो निर्णयलाई नगरपालिकाले पनि गज्जबको भएको बताएको छ ।

“उत्पादन पनि बढाउने, रैथाने बाली पनि जोगाउने व्यवस्थामा साथ दिनुपर्छ”, नगरप्रमुख वसन्तकुमार श्रेष्ठले भने, “कृषि पेसा गरेको किसान खुसी बन्ने वातावरण बनाउने प्रयासमा छौँ ।” धेरै उत्पादन गरेका किसानको धान नगरपालिकाले पनि बजारीकरणमा साथ दिने उनले बताए ।

वडा नं १३ ले १४० घरधुरी रहेको मुसुराबारीको दलित बस्तीमा प्रतिघर न्यूनतम पाँच वटा सुन्तला र कागतीको बिरुवा लगाउनेलाई सहयोग पनि गरेको छ । चालु वर्षको ५० हजार रकमले बिरुवा किनेर किसानलाई दिएको हो । वडाले गत वर्षदेखिनै रसायनिक मल ढुवानीमा प्रतिकेजी दुई अनुदान दिँदै आएको छ ।

पशुपन्छीको औषधि निःशुल्क वितरण, ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई नगर अस्पतालमा निःशुल्क औषधि उपचारको व्यवस्था पनि गराएको हो । यसबाहेक गर्भवतीले गर्भजाँच गर्न आउँदा हरेक पटक एक/एक क्रेट अण्डा समेत दिने व्यवस्था गराएको छ । वडाले पोषणमैत्री कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्यास फेला

काठमाडौं । दैलेखको जलजलेमा १ अर्ब १२ करोड घनमिटर प्राकृतिक ग्यास रहेको पत्ता लागेको छ । चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङका आधारमा १ अर्ब १२ करोड घनमिटर प्राकृतिक ग्यास भएको पत्ता लागेको हो ।

यसको अन्तिम प्रतिवेदन भने आउन डिसेम्बरसम्म आउने खानी तथा भूगर्भ विभागले जनाएको छ । यसबाट नेपाललाई ५० वर्ष पुग्नेछ । अब परीक्षण उत्पादन गरेर त्यसको यकीन गर्ने भन्दै विभागले आवश्यक प्रक्रिया अघि बढाएको छ । त्यहाँ चीनको सरकारी निकायले २०८० वैशाख २८ गतेदेखि झण्डै डेढ वर्ष ड्रिलिङ गरेर त्यसको अध्ययन गरेको थियो ।

विभागका उपमहानिर्देशक दिनेशकुमार नापितले ४ हजार १३ मिटरसम्म ड्रिलिङ गरेर नमूना लिएर परीक्षणका लागि चीन पठाइएको जानकारी दिए । अब बाँकी प्रक्रियाका लागि दुबै देशका सरकारबीच थप सम्झौता भइ काम अघि बढ्ने उनले बताए ।

६ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

काठमाडौँ । बाढी र पहिरोका कारण देशका विभिन्न ६ स्थानमा बिहीबार पनि सडक अवरुद्ध भएको छ ।
प्रहरी प्रधान कार्यालका अनुसार अन्य चार ठाउँमा अवरुद्ध भएको सडक भने एकतर्फी खुलाइएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब मानिरीक्षक विनोद घिमिरेले एकतर्फी खुलेका सडकलाई दुइतर्फी बनाउने र अवरुद्ध रहेका सडकलाई खुलाउने प्रयास जारी रहेको जानकारी दिए ।

उनका अनुसार अहिले सिन्धपाल्चोकको भोटेकोशीमा पहिरोका कारण अरनिको राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिकाको कोदारी, लार्चा र कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा बाढीले महेन्द्र राजमार्ग अवरुद्ध बनाएको छ । सो क्षेत्रमा अहिले गाडीको लामो लाइन छ । यात्रुहरु अलपत्र छन् ।

यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्सेमा पहिरो खसेर बेनी–जोमसोम सडक अवरुद्ध पारेको छ । यता डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा बाढीका कारण भेरी करिडोर पनि पूर्ण रुपमा अवरुद्ध रहेको र खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

यी अवरुद्ध सडकलाई एकतर्फी खुलाइयो

धनकुटाका साँगुरीगढी गाउँपालिका–५ को रवि–राके–भेटेटार सडक एकतर्फी खुलाइएको छ ।

यस्तै काभ्रेको धुलिखेल नगरपालिका–११ बाँझोखेतमा बाढीले अवरुद्ध पारेको विपी राजमार्ग पनि एकतर्फी खुलाइएको छ ।

यस्तै चितवनको इच्छाकामना गाउँपालिकाको पाँच तुइन खोला र नाम्सी पुलमा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक पनि एकतर्फ खुलाइएको छ ।

गुल्मीको कालिगण्डकी गाउँपालिका ६ बर्लबामा पहिरो खस्दा अवरुद्ध भएको कालिगण्डकी करिडोर एकतर्फी खुलाइएको ।

जुम्लाको सिंजा गाउँपालिका–२ चुलेल गाउँमा पहिरो खुला अवरुद्ध जुम्ला–मुगु सडक एकतर्फी खुलाइएको प्रहरीले जानकारी दिएको छ ।

ढोरपाटनको सौन्दर्य

बाग्लुङको ढोरपाटन नगरपालिकास्थित सुन्दर प्राकृतिक पाटन र पृष्ठभूमिमा ढोरपाटन शिकार आरक्ष । यो ठाउँ पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।

तस्बिर : भरत केसी/ रासस

‘उखु किसानको अनुदान कटौतीको निर्णय चिनी विचौलियाको प्रभावमा परेर भएको त हैन ?’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखु किसानलाई दिँदै आएको अनुदान रोकिएको आपत्ति जनाएका छन् ।

बिहीबार सामाजिक संजालमार्फत कोइरालाले यसले उखु किसान विस्थापित हुने पक्क भएको बताएका हुन् । कोइरालाले विचौलियाको प्रभावमा परेको निर्णय गरेको त होइन भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्, ‘उखु किसानलाई दुई दशक अघिदेखि दिईंदै आएको उत्पादनमा आधारित अनुदान विनाकारण रोकिनु आपत्तिजनक छ । चिनी उद्योगलाई आत्मनिर्भर वनाउनुपर्नेमा यस्तो निर्णयले उखु किसान विस्तापित हुने पक्का छ । कतै सरकारको यो निर्णय चिनी विचौलियाको प्रभावमा परेर भएको त हैन ?’

उखु खेतीमा कृषकलाई प्रोत्साहन गर्न ७ वर्षदेखि दिइँदै आएको अनुदान रकम अगामी आर्थिक वर्षको बजेटमा कटौती गरिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा उखु खेती प्रवद्र्धनका लागि किसानलाई प्रोत्साहन गर्न २ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

तर, आगामी आर्थिक वर्षको बजेटमा यसबारे कतै उल्लेख नभएपछि किसान चिन्तित बनेका छन् । सरकारले कार्यविधि नै निर्माण गरेर २०७५ सालदेखि उत्पादनका आधारमा किसानलाई अनुदान रकम दिँदै आएको थियो । सरकारले प्रतिक्विन्टल उखुमा ७० रुपैयाँ अनुदान दिने गर्छ ।