`

जेनजीले गरे महान्यायाधिवक्ताको वेबसाइट ‘ह्याक’

काठमाडौं । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा जेनजी (युवापुस्ता) ले आज देशभर प्रदर्शन गरिरहेका बेला केहि वेबसाइटहरू ‘ह्याक’ भएको छ । युवाहरूले भ्रष्टाचारविरोधी प्रदर्शन गरिरहँदा केही समूहले वेबसाइटहरू ह्याक गरी आफ्ना नाराहरू प्रकाशित गरेका छन् ।

महान्यायाधिवक्ता कार्यालयको वेबसाइट पनि ह्याक गरेर जेनजीहरूले नारा लेखिदिएका छन् । ‘जेनजी राइजिङ नेपाल’ ह्यासट्याग उल्लेख गरी उनीहरूले वेबसाइटमा उनीहरूले बानेश्वरको प्रदर्शनमा सहभागी हुन अपिल पनि गरेका छन् । यस्तै पद्मकन्या स्कुल, होटल एशोसिएसन नेपाल लगायत अन्य संस्थाका वेबसाइट पनि ह्याकरले कब्जामा लिएका छन् ।

महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ । नेपालका महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन, २०८२ सुरु भएको छ । महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा सुरु भएको सम्मेलनको आज सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले उद्घाटन गरेकी हुन् ।

उनले २९ दशमलव चार प्रतिशत सरकारी वकिल महिला हुनु उत्साहजनक अवस्था भएको र अझै निर्णायक तहमा महिला सरकारी वकिल आवश्यक रहेको बताएकी छिन्। वरिष्ठतम् न्यायाधीश मल्लले सङ्ख्यात्मक उपलब्धिका साथै अर्थपूर्ण सहभागिता जरुरी भएको र संरचनागत चुनौतीलाई चिर्दै आगाडि बढ्नुपर्नेमा जोड दिईन्।

“महिलाहरूले अहिले पनि हरेक पलमा परीक्षा दिनुपर्ने अवस्था छ, महिलाले कामले सिद्ध गरेर देखाउनुपर्छ”, उनले भनीन्, “सम्पूर्ण अवरोधलाई तोडेर अघि बढ्नुपर्छ ।” उनले घरका कामलाई साझेदार गर्दै आफूलाई प्रत्येक दिन धार लगाएर सबल बनाउनुपर्ने बताएकी छिन् ।

महान्यायाधिवक्ता रमेश वडालले अहिले पनि विभेदकारी कानुन छ भने संशोधन गर्नुपर्ने र त्यसका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा भएका विभेदजन्य कानुन संशोधन गर्नुपर्ने बताए । उनले विगतको तुलनामा धेरै महिला सरकारी वकिल भएको र २०९० सालसम्म चार महिला सरकारी वकिल मूल नेतृत्व नायब महान्यायाधिवक्ता हुने विश्वास व्यक्त गरे ।

सम्मेलनको संयोजक सहन्यायाधिवक्ता मीना गुरुङले सम्मेलनमा सम्पूर्ण महिला सरकारी वकिलबीच एकापसमा अनुभव आदानप्रदान गरी आफ्नो पेसागत अनुभव, चुनौती र अवसरबारे गहन छलफल हुने जानकारी दिएकी छिन् ।

“यो सम्मेलनलाई महिला सरकारी वकिलको आवाजलाई राष्ट्रियस्तरमा स्थापित गर्ने ऐतिहासिक कदमका रूपमा अथ्र्याएका छौँ”, उनले भनिन्, “महिला सरकारी वकिल सशक्त भएमा फौजदारी न्याय प्रणाली थप सुदृढ र विश्वसनीय हुन्छ भन्ने आशाको साथ यो सम्मेलनको आयोजना हुन गइरहेको छ, यो आशा शब्दमा मात्र सीमित छैन, जीवनशैली र जिम्मेवारी बन्नेछ भन्नेमा सरकारी वकिल दृढ विश्वस्त छौँ ।”

आज र मङ्गलबार गरी दुई दिनसम्म चल्ने सरकारी महिला वकिलको सम्मेलको मूल नारा ‘महिला सरकारी वकिलको सशक्तीकरण फौजदारी न्याय प्रणालीको सुदृढीकरण’ रहेको छ । यस सम्मेलनमा महान्यायाधिवक्ताको कार्यालय र मातहत कार्यालय तथा अन्य निकायमा कार्यरत सबै महिला सरकारी वकिलसहित करिब २५० जनाको सहभागिता रहेको छ ।

सम्मेलनमा महिला सरकारी वकिलको पेसागत क्षमता अभिवृद्धि र व्यावसायिक विकासको माध्यमबाट फौजदारी न्याय प्रणालीको सुदृढीकरणमा टेवा पु¥याउने मुख्य उद्देश्य रहेको छ । सम्मेलनमा पाँचवटा कार्यपत्र प्रस्तुत हुनेछन् ।

कार्यपत्रहरूमा मूलतः महिला सरकारी वकिलको वर्तमान अवस्था, महान्यायाधिवक्ताको कार्यालयको रणनीतिक योजनाले सम्बोधन गर्नुपर्ने महिला सरकारी वकिलहरूका सवालहरू, प्रविधिको प्रयोगबाट हुने कसुरको पीडितहरुको न्यायिक उपचारमा सरकारी वकिलको भूमिका, न्याय सेवामा महिला सरकारी वकिलहरूको सहभागिता लगायतका मुख्य विषय वस्तुमा केन्द्रित रही प्रस्तुत हुनेछ ।

सम्मेलनमा अर्को महत्वपूर्ण विषयवस्तुका रूपमा सरकारी वकिलको पेसागत र दैनिक जिम्मेवारीको सन्तुलनसँग व्यावसायिक क्षमता अभिवृद्धिसँग सम्बन्धित विषयमा एउटा प्यानल छलफल पनि हुनेछ । यस सम्मेलनको माध्यमबाट कार्यस्थलमा लैङ्गिक समानता र सुरक्षित वातावरण सुनिश्चित गर्ने बाटो खोजिनेछ ।

सहन्यायाधिवक्ता गुरुङले पेसागत चुनौतीलाई अवसरमा बदल्ने रणनीति तय गरिनेछ । महिला सरकारी वकिलको क्षमता र नेतृत्व विकासका लागि ठोस प्रतिबद्धतासहित घोषणापत्र जारी गरी सम्मेलनको समापन गरिने जानकारी दिएकी छिन् । सरकारी वकिल समूहमा सहन्यायाधिवक्ता चार, उपन्यायाधिवक्ता ३२ र सहायक न्यायाधिवक्ता ११२ गरी १४८ जना रहेका छन् ।

सम्मेलनमा सर्वोच्च अदालतका न्यायाधीश, राष्ट्रिय महिला आयोगका अध्यक्ष, महान्यायाधिवक्ता, नायब महान्यायाधिवक्ता, नेपाल न्याय सेवाका महिला सचिव तथा सहसचिव एवम् उच्च अदालत पाटन र उपत्यकाका जिल्ला अदालतमा कार्यरत सबै महिला न्यायाधीश, नेपाल बार एसोसिएसनको उपाध्यक्षलगायत न्याय सेवाका विशिष्ट व्यक्तिका साथै सरोकारवाला निकायका प्रतिनिधि तथा पर्यवेक्षकका रूपमा सहभागिता छ । सम्मेलनको समापन मङ्गलबार न्यायाधीश शारङ्गा सुवेदीले गर्नुहुनेछ । सम्मेलनले काठमाडौँ घोषणापत्रसमेत जारी गर्ने बताइएको छ ।

बानेश्वर आसपास क्षेत्रमा कर्फ्यू, के–के गर्न पाइँदैन ?

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ बानेश्वरस्थित संसद् भवन आसपासका क्षेत्रमा राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ । जेनजी प्रदर्शनले निषेधित क्षेत्र तोड्दै बानेश्वरकेन्द्रित भएपछि भीड प्रहरी नियन्त्रण बाहिर पुगेको थियो । सो क्रममा प्रदर्शनकारी संसद्को गेट नाघेर भवनभित्रै छिरेका हुन् ।

उनीहरुले संसद भवनको २ नम्बर गेटमा आगजनी समेत गरेका छन् । प्रहरीले अश्रुग्यास र हवाइ फायर गर्दा समेत भीड नियन्त्रणमा नआएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको आदेशअनुसार बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वरचोकदेखि दक्षिण शंखमूल ओरालो हुँदै शंखमूल पुलसम्म कर्फ्यू आदेशजारी भएको छ । यसअवधिमा आवतजावत, भेला, जुलुस, घेराउलगायतका काम गर्न नपाइने भनिएको छ ।

संसदको २ नम्बर गेटमा जेनजी प्रदर्शनकारीले लगाए आगो

काठमाडौं । जेनजी प्रदर्शनकारीहरुले संसद भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् ।

‘आन्दोलनमा घुसपैठ भयो, सबै जना घर फर्किनू’
यसैबीच जेनजीको प्रदर्शन अशान्तपूर्ण भएपछि तत्कालै सबैलाई फर्किन आह्वान गरिएको छ । जेनजी नेपाल नामको फेसबुक पेजबाट सो आह्वान गरिएको हो ।

यसअघि आन्दोलनको बारेमा पोस्ट गर्दै आएको पेजमा लेखिएको सूचनामा भनिएको छ, ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनु होला । धेरै स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस्। हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस् ।’

जेनजीको प्रदर्शन उग्र बनेपछि प्रहरीले चलायो ‘रबर’ को गोली

काठमाडौं । जेनजीको आन्दोलन उग्र भएपछि कर्फ्यू आदेशसँगै प्रहरीले रबरको गोली चलाएको छ । प्रदर्शनकारीले ढुंगामुढासहित संसद भवनको २ नम्बर गेटको पर्खाल भत्काएका थिए ।

अहिले प्रदर्शनकारीलाई तितरबितर पार्न घुँडामुनि रबरको बुलेट हानिएको सुरक्षा अधिकारीले बताएका छन् ।

घर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यू  जारी गरिएको हो ।

जेनजी प्रदर्शनमा ७२ वर्षीय वृद्ध : यो पुस्ताले चाहिँ परिवर्तन ल्याओस्

काठमाण्डौं । जेनजी प्रदर्शन यो एउटा युवा पुस्ताको जोस र उत्साह लाई देखेर उनीहरुलाई केही हद सम्म ढाडस दिनका निमित चारैतिर युवाहरुको कोलाहलको बिचमा एकजना ७२ वर्षीय बृद्ध बुवालाई सहजै देख्न सकिन्छ । नारायणप्रसाद शर्मा नाम गरेका अनुहार चाउरी परेको ७२ बर्ष पुगेपनी जोसीला र हसिला निधारमा ठाडो टीका लगाएका युवाहरुको होस्टेमा हैसे मिलाउन गेरु गम्छा काँधमा हालेका चिटिक्क परेर साथ दिन उनको उपस्थीती रहेको सहजै बुझ्न सकिन्छ ।

हेर्दा पनि धर्म प्रति आस्थावान् मानिने उनि जेनजी प्रदर्शनमा युवापुस्ताहरूलाई आषिश दिदैँ ‘शर्माले भने्, ’भगवान् यो जमातलाई रक्षा गर । यो पुस्ताले चाहिँ साच्चीँकै केही गरोस् यो देशमा परिवर्तन ल्याओस् ।’

सामाजिक सञ्जाल बन्दविरुद्ध ‘जेनजी’ ले आह्वान गरेको आन्दोलनमा युवाहरु मात्र होइन । विभिन्न उमेर समूहका व्यक्तिहरु को समेत सहभागी रहेको छ । त्यस्तै मध्येका एक हुन् ’ सुर्खेत लाटीकोइलीका ७२ वर्षीय नारायणप्रसाद शर्मा ।’

उनी आफूलाई मन लागेको कुराहरु युट्युबमा हेर्ने गर्दथे । तर त्यो पनि अहिलेको सरकारले दर्ता नभएको विभिन्न सामाजिक सन्जाल मध्ये युट्युव पनि उनको सूचना लिने र दिन कटाउने माध्यम थियो । अहिले युट्युव लगायत सबै बन्द भएपर्छि दिन कटाउन गाह्रो भएको उनि बताउँछन् ।

उनको छटपटी र गुम्सिएको आक्रोश सजिलै उनको मुहारमा स्पष्ट देख्न सकिन्छ ।विरोध प्रदर्शन हुने भएपछि उनी आफ्नो छोरासँग मोटरसाइकल चढेर माइतीघर आएका छन् । जसले जेनजीको सोमबारदेखि थालेको आन्दोलनले उनलाई केही राहत मिलेको देख्न सकिन्छ ।

उनी माइतीघरको एउटा कुनामा बसेर आफ्नो शान्त विरोध जनाएर युवापुस्ता लाई साथ दिएका छन् । ‘समाचार पढ्ने, युट्युव हेर्ने उनि अहिले केही चल्दैन । कती रिस उठ्छ । दिनभर मेरो काम हुँदैन । अनि समर्थन गर्न आन्दोलनमा आएको हुँ,’ उनले भने,’सरकारले साह्रै दुख्ख दिएको छ । नेताले सबै बेचे । अब त चिहान र घाट पनि बाँकी नराख्लान् जस्तो भो ।’ त्यसैले यि य्ुवा एक जुट भई लाग्न जरुरी छ र केही गरोस् यि युवा पुस्तालाई मेरो आशिर्वाद छ ।

बानेश्वर आसपास क्षेत्रमा कर्फ्यू

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (सोमबार) दिउँसो कफ्र्यू जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले कर्फ्यू जारी भइसकेको जानकारी दिए । जेनजीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । कफ्र्यू लगाउनुअघि सीडीओ रिजालले गृहमन्त्री रमेश लेखकसँग परामर्श गरेका थिए ।

भ्रष्ट्राचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा आन्दोलनमा उत्रिएका जेन–जी पुस्ताको प्रदर्शनका क्रममा अवस्था तनावग्रस्त बनेपछि कफ्र्यू जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए । उनका अनुसार माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल

उपत्यकाकामा सुरक्षा व्यवस्था कडा, ‘ड्रोन’ बाट निगरानी

काठमाडौं । काठमाडौँ उपत्यकाका तीनै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । ‘जेनजी’ पुस्ताको प्रदर्शनको चर्चाका बीच आइतबारदेखि आवश्यक सुरक्षा प्रबन्ध गरिएको र सोही अनुसार बिहानदेखि सुरक्षाकर्मी आवश्यकताका आधारमा परिचालन भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए ।

उनका अनुसार अवाञ्छित गतिविधि हुनसक्ने कुरालाई ध्यानमा राखेर ड्रोनबाट समेत निगरानी भइरहेको छ । ‘यसले एउटा ‘रेकर्डेट’ पनि हुन्छ र कुनै घटना भइहालेमा पनि त्यसलाई नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सकिन्छ भनेर ड्रोनबाट निगरानी गरिरहेका छौँ, अन्य सबै क्षेत्रमा आवश्यताका आधारमा सुरक्षा टोली परिचालन भएको छ’, प्रजिअ रिजालले भने ।

अहिले काठमाडौँको माइतीघरमा जेनजी पुस्ताका नाममा केही मानिस भेला भएको जानकारी आएको बताउँदै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले तीनै जिल्लामा आवश्यकताका आधारमा उचित सुरक्षा प्रबन्ध रहेको बताए ।

प्रवक्ता खनालले भने, ‘हामीले सुरक्षा योजना बनाएर नै परिचालन गरेका छौँ, सबै लाग्ने डिउटी खटाइसकेका छौँ, कमान्ड पोष्ट परिचालन भइसकेको छ ।’ सामाजिक सञ्जालमा लगाइएको रोकलगायत विरुद्ध भन्दै जेनजी पुस्ताले आज उपत्यकामा प्रदर्शन गर्ने कार्यक्रम रहेको भनेर प्रचार भएपछि उपत्यकामा सुरक्षा निगरानी बढाइएको हो ।

प्रहरीको घेरा तोड्दै जेनजीले घेरे संसद भवन

काठमाडौँ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजीले नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका छन् । माइतीघरमा भेला भएर प्रदर्शनकारीहरू सरकारविरुद्ध नाराबाजी गर्दै नयाँबानेश्वरतर्फ अघि बढेका हुन् । निषेधित क्षेत्र तोडेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा र अश्रुग्याँस पनि प्रहार गरेको थियो ।

तर, त्यसलाई पनि छिचोल्दै उनीहरुले संसद् भवनसम्म पुगेका हुन् । उनीहरुले भवनभित्र बोतललगायत प्रहार गरिरहेका छन् । उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् । अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ ।

सुनुवाइ समितिका सभापति खतिवडाले लिए शपथ

काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा निर्विरोध निर्वाचित भएका रामहरि खतिवडाले शपथ लिएका छन् । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभापति खतिवडाले सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन् ।

शपथमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा रानामगर, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेलगायत सहभागी थिए । कुलिङ पिरियड छेडखानीमा संसदीय विशेष छानबिन समितिले नैतिक जिम्मेवार ठह¥याएपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका खतिवडा संसदीय सुनुवाइ समिति सभापति बनेका हुन् ।

जेनजीको प्रदर्शनमा प्रहरीको अश्रुग्याँस

काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद भवनतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।

माइतीघरबाट अघि बढेको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको छ । तीनकुनेतर्फबाट अघि बढेको टोली संसद भवनको गेट अगाडि नै पुगेको छ । माइतीघरबाट अघि बढेका प्रदर्शनकारी पनि संसद भवन अगाडि पुगेका छन् ।

सुरक्षा घेरा तोड्दै संसद भवन अगाडि पुगे जेनजी, प्रहरीले गर्‍यो लाठीचार्ज

काठमाडौं । माइतीघरबाट निस्किएको जेनजी प्रदर्शनकारीको जुलुस बानेश्वरस्थित संसद भवनतर्फ अघि बढेको छ । प्रहरीको ब्यारिकेड तोड्दै जुलस अगाडि बढेपछि तनाव उत्पन्न भएको छ ।

संसद भवनतर्फ जाने प्रयास गरेका केही युवाहरुलाई प्रहरीले लाठी प्रहार गरेका छन् । त्यसका बाबजुद पनि भिड रोकिएको छैन ।

प्रहरीले संसद भवन अगाडि आएका प्रदर्शनकारीलाई अश्रुग्यास प्रहार गरेको छ । पानीको फोहरा हान्ने गाडीलाई संसद भवन अगाडि राखेको छ ।

युवाहरुले प्रहरीलाई पानीको बोतल प्रहार गरेका छन् । उनीहरुले बालेनको समर्थन र प्रधानमन्त्रीको विरुद्धमा नारावाजाी गरिरहेका छन् ।

पोखरा र विराटनगरमा पनि जेनजीको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जेनजी (युवापुस्ता) ले आज पोखरा र विराटनगरमा पनि प्रदर्शन गरेका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा जेनजीले प्रदर्शन गरेका छन् । पोखरा सभागृह अगाडि जेनजीले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरूद्ध प्रदर्शन गरेका हुन् । भ्रष्टाचार विरोधी नारा लेखिएको प्लाकार्ड लिएर उनीहरूले नाराबाजी पनि गरेका छन् ।

विभिन्न कलेज र स्कुलका विधार्थी पनि प्रदर्शनमा सहभागी छन् । सामाजिक सञ्जाल बन्द हुँदा धेरैको व्यवसाय ठप्प हुनुका साथै रोजिरोटी गुमेको जेनजीको प्रदर्शनमा आएकाहरूले बताएका छन् । देश विदेशमा रहेका आफन्तसँग कुराकानी गर्नसमेत नपाएको भन्दै उनीहरुले नेताहरूले भ्रष्टाचार ढाकछोप गर्न सामाजिक सञ्जाल बन्द गराएको आरोप लगाएका छन् । भ्रष्टाचारविरूद्ध अब नयाँ पुस्ता आन्दोलनमा आउनुको विकल्प नभएको उनीहरूले बताएका छन् ।

यस्तै कोशी प्रदेशको राजधानी विराटनगरमा पनि जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताले आज प्रदर्शन गरेका छन् । सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचार बढेको भन्दै जेनजीले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी महेन्द्र मोरङ कलेज विराटनगरमा स्नातक पढ्दै आएका विद्यार्थी जमसेद जेके रोजले देश भ्रष्टाचारले थिलोथिलो भएको बताए ।

‘हामी विद्यार्थी यो देखेर आजित छौं । हरेक युवा विदेश सोचिरहेको छ। विराटनगरमा सडक हेर्नुस्, बेथिति हेर्नुस् सबै हेर्दा रगत उम्लिन्छ । हामी यो असन्तोष सामाजिक सन्जालमा पोख्थिम । हाम्रो आवाज रोकिन्न । हामी देशप्रेमी हौं । जस्तोसुकै बलिदान गर्न तयार छौं तर अब यी नेताहरूको मनपरि सहन्नौं,’ उनले भने । काठमाडौं र पोखरामा पनि जेनजीले आज प्रदर्शन गरेका छन् ।

पोखरामा पनि जेनजीको प्रदर्शन (तस्बिरहरू)

पोखरा । सामाजिक सञ्जाल बन्दसहितका बेथितिका विरुद्धमा पोखरामा पनि आज जेनले प्रदर्शन गरिरहेको छ।  पोखरा सभागृह अगाडि प्रदर्शनमा उत्रिएका युवा भ्रष्टाचारविरुद्ध नाराबाजी गरिरहेका छन्।

‘सामाजिक सञ्जाल बन्द गर्ने हैन, भ्रष्टाचार रोक’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शनकारीहरूले केही उत्तेजित नारा पनि लगाएका छन्।

युवाहरू होहल्लाका बीचमा ‘भ्रष्ट नेता होसियार’ भन्ने नारा चर्को सुनिएको छ। बिहान १० बजेदेखि सिमसिमे झरीको पर्वाह नगरि प्रदर्शनमा उत्रनेमध्ये अधिकांश स्कुल र कलेजका विद्यर्थी छन्।

प्रधानमन्त्री देखी सभामुखको निवास वरपर सुरक्षा व्यवस्था कडा

काठमाडौँ । काठमाडौँमा जेनजी पुस्ताको प्रदर्शन सुरु भएसँगै प्रधानमन्त्रीको सरकारी निवास वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बिहान ९ बजेदेखि प्रधानमन्त्री र प्रधानन्यायाधीश तथा सभामुखको निवास वरपर ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । आज पहिलोपटक संगठित रुपमा जेनजी पुस्ताले सरकारले अराजकता र भ्रष्टाचारको विरोधमा काठमाडौँ सहित देशैभर प्रदर्शन हुँदैछ ।

नेता र उच्च पदस्थ कर्मचारीले गरेको भ्रष्टाचार र सोही भ्रष्टाचारको रकमले उनका छोराछोरीले गरेको मोजमस्ती विरुद्ध सामाजिक सञ्जालमा सक्रिय जेनजी पुस्ता अहिले सडकमा उत्रिएका छन् ।

उनीहरुले इन्डोनेसिया, बंगलादेश र श्रीलंकाको सत्ता पलटलाई उदाहरण दिदै आन्दोलन नेपालमा थालेको घोषणा गरेका कारण सत्ता सञ्चालक, उच्च पदस्थ कर्मचारी लगायतमा मनोवैज्ञानिक त्रास बढेको छ ।

 

प्रदर्शनमा कम्तीमा १२ हजार जेन–जी : प्रहरी

काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा ठूलो संख्यामा जेन–जी काठमाडौंमा प्रदर्शनमा उत्रिएका छन् । बिहान माइतीघरमा भेला भएका उनीहरु बानेश्वरको निषेधित क्षेत्र नजिक पुगेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंमा प्रमुख एसएसपी विश्व अधिकारीले कम्तीमा चार हजारको संख्यामा युवाहरु भेला भएको बताएका छन् ।

तर, गृह मन्त्रालयका एक अधिकारीका अनुसार कम्तीमा १२ हजार जेनजी भेला भएको जानकारी प्रहरीले पठाएको छ । त्यहीअनुसार सुरक्षा व्यवस्था मिलाउन सर्कुलर जारी भएको एक अधिकारीले बताए । प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । ‘कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा संयन्त्र मजबुत बनाइएको छ,’ अधिकारीले भने, ‘उहाँहरुलाई आफ्ना माग राख्न कुनै अवरोध गर्ने छैनौं ।’

 

जेन-जीको प्रदर्शनबाट घुसपैठको आरोपमा एक जना पक्राउ

काठमाडौँ । भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीको प्रदर्शनमा घुसपैठ भएको भन्दै नेपाल प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

घुसपैठ भएको भन्दै प्रदर्शनमा आएका युवाहरूले एक जनालाई हातपात गरेपछि प्रहरीले ती युवालाई नियन्त्रणमा लिएर सुरक्षित स्थानतर्फ लगेको हो ।

बानेश्वरको निषेधित क्षेत्र छेउमा जेन–जीको नारा : हाम्रो क्रोध, तिम्रो अन्त्य

काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा उत्रिएका जेन–जी बानेश्वरको निषेधित क्षेत्र नजिक पुगेका छन् । बिहान माइतीघरमा भेला भएका उनीहरु विभिन्न प्लेकार्ड बोकेर नाराबाजी गर्दै बानेश्वरतर्फ लागेका हुन् । अहिले उनीहरु प्रदर्शन गरिरहेका छन् ।

विभिन्न नारासहितका प्लेकार्ड पनि उनीहरूले प्रदर्शन गरिरहेका छन् । उनीहरूले भ्रष्टाचारविरोधी नारा लगाइरहेका छन् । प्लेकार्डमा उनीहरूले ‘हाम्रो क्रोध, तिम्रो अन्त्य,’ ‘हामीलाई सहायता दिने नेता चाहिएको छ, आफूलाई पोस्ने नेता होइन,’ ‘अति भयो झुट, अअति भयो माफी,’ ‘रोजगारी छैन, न्याय छैन, भविष्य छैन’ जस्ता नारा प्लेकार्डमा लेखेका छन् । उनीहरूले ‘हामीले तिरेको कर कहाँ छ ?’ भनी प्रश्न गरेका छन् । लोभी नेताहरूलाई थप नपोसौँ भन्दै आह्वान गरेका छन् । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहियो भन्दै राजनीतिक प्रणाली फेर्न माग गरेका छन् ।

माइतीघर–बानेश्वर सडक पूर्णरुपमा अवरुद्ध
काठमाडौंको माइतीघरमा भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा भइरहेको प्रदर्शनका कारण माइतीघर–बानेश्वर सडक पूर्णरुपमा अवरुद्ध बनेको छ । माइतीघरबाट थापाथली, पुतलीसडक र बानेश्वरतर्फ जाने तीन वटै सडक जेन–जीले ढाकेका छन् ।

ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंमा प्रमुख एसएसपी विश्व अधिकारीले हजारौंको संख्यामा युवाहरु भेला भएको बताएका छन् । ‘कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा संयन्त्र मजबुत बनाइएको छ,’ उनले भने, ‘उहाँहरुलाई आफ्ना माग राख्न कुनै अवरोध गर्ने छैनौं ।’

कोहलपुर इप्रकाको हिरासतमै थुनुवाको मृत्यु

दाङ । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमै एक थुनुवाको मृत्यु भएको छ । ज्यान मार्ने कसुरमा सोधपुछका लागि तीन दिनदेखि हिरासतमा राखिएका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको मृत्यु भएको बाँके प्रहरीका प्रवक्ता डीएसपी नरेश पातलीले जानकारी दिए ।

मृतक सिंहको मृत्युको कारण र उनलाई कति दिनको म्याद थपिएको थियो भन्ने विषय प्रहरीले खुलाएको छैन । डिएसपी पातलीका अनुसार उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु आज बिहान मृत्यु भएको हो । मृतकका आफन्त अहिले इप्रका कोहलपुरमा पुगेका छन् ।

 

नाराबाजीसहित बानेश्वरतर्फ अघि बढे जेन–जी

काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा माइतीघरमा भेला भएका जेन–जीको प्रदर्शन बानेश्वरतर्फ अघि बढेको छ । आज (सोमबार) बिहान ९ बजेदेखि उनीहरु माइतीघरमा भेला भएका थिए । विभिन्न प्लेकार्ड बोकेका उनीहरु नाराबाजी गर्दै बबरमहल पुगेका छन् । उनीहरुले ‘आवर फ्युचर इज नट फर सेल’, से नो टु करप्सन, जेन–जी हेयर–फ्युचर क्लियर’ जस्ता प्लेकार्ड बोकेका छन् ।

प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंमा प्रमुख एसएसपी विश्व अधिकारीले करिब ४ हजारको संख्यामा युवाहरु भेला भएको बताएका छन् । ‘कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा संयन्त्र मजबुत बनाइएको छ,’ उनले भने, ‘उहाँहरुलाई आफ्ना माग राख्न कुनै अवरोध गर्ने छैनौं । बानेश्वरको निषेधित क्षेत्रसम्म उहाँहरु जान पाउनु हुन्छ ।’ उनीहरुलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समर्थन गरेका छन् ।

 

जेनजीको प्रदर्शनस्थलमा बालेनले राखिदिए घुम्ती शौचालय

काठमाडौं । जेनजीको आज (सोमबार) प्रदर्शनस्थल माइतीघरमा काठमाडौं महानगरपालिकाले घुम्ती शौचालय राखिदिएको छ । सामाजिक सञ्जाल बन्द गराउने सरकारको निर्णय र भ्रष्टाचारविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गरिरहेकाहरुको सुविधाका लागि महानगरपालिकाले निःशुल्क प्रयोग गर्न मिल्ने घुम्ती शौचालय राखिदिएको हो ।

अहिले युवाहरु भ्रष्टाचार, बेथिति र सामाजिक सन्जाल बन्द विरुद्ध नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् । उनीहरुको प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समेत समर्थन गरेका छन् । राष्ट्रिय झण्डासहित सडकमा उत्रिएका उनीहरूले राष्ट्रभक्ति गीत गाएका छन् । उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड समेत बोकेका छन् । कतिपय स्कुल–कलेजको ड्रेसमा देखिएका छन् ।

‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड उनीहरूले बोकेका छन् । सामाजिक सञ्जालमार्फत् गरेको आह्वान अनुसार प्रदर्शनमा उत्रिएका जेनजीले राजनीतिक दलका नेता–कार्यकर्तालाई प्रदर्शनमा सहभागी नगराउने स्पष्ट बताइसकेका छन् ।

प्रदर्शनको क्रममा रुख बिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने, सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता समेत जनाएका छन् । जेनजीले काठमाडौं उपत्यका बाहिरका रुपन्देही, दाङ लगायतका जिल्लाहरू पनि प्रदर्शन गरेका छन् ।

 

 

पर्वतमा रु दश करोडको लागतमा प्लाई उद्योग सञ्चालन

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका –८ परादीमा गण्डकी प्रदेशकै दोस्रो ‘प्लाई’ उद्योग सञ्चालनमा आएको छ । कुश्मा नगरपालिकाको कटुवा चौपारी घर भएका शिवशर्मा अधिकारीले १६ वर्षदेखि सञ्चालन गर्दै आएको ‘विन्दवासिनी भेनियर उद्योग’ लाई अब प्लाइ उत्पादन गर्ने उद्योगको रूपमा सञ्चालन गरेको हो ।

सामान्यतः पहाडी क्षेत्रमा प्लाई उद्योग कमै मात्रामा सञ्चालन हुने गरेका छन् । त्यसमा पनि कम जनघनत्व हुने क्षेत्रमा उद्योग सञ्चालन गर्नु चुनौतीपूर्ण हुने भए पनि अधिकारीले जिल्लावासीले पाउने रोजगारी र ढुवानी बचतका लागि उद्योग सञ्चालन गरेको हो । परादीमामा रहेको ‘भेनियर’ उद्योगमा तयार हुँदै आएको प्लाई को कच्चापदार्थलाई अधिकारीले नै कपिलवस्तुको बहादुरगञ्जमा सञ्चालन गर्दै आएको अकला प्लाई उद्योगमा लगेर प्लाई बनाउने गरिएको थियो । त्यहाँ उत्पादित प्लाई पुनःगण्डकी प्रदेशमा आएर बिक्री हुने गरेको थियो ।

जिल्लाबाट गएको कच्चापदार्थबाट कपिलवस्तुमा प्लाई बनेर पुनः गण्डकी प्रदेशमा ल्याएर बिक्री गर्दा ढुवानी लागतसमेत बढी भएपछि अधिकारीले बहादुरगञ्जको प्लाई उद्योगलाई परादीमा सारेको हो । करिब रु १० करोडको लागतमा तयार भएको प्लाई उद्योगमा करिब तीन सय जनाले रोजगारीको अवसर पाउने छन् । आफ्नै जन्मभूमिबाट उद्योग चलाउँदा जिल्लावासीले नै रोजगारीको अवसर पाउने र ग्रामीण क्षेत्रमा कुहिने अवस्थामा रहेका कुकाठले बजार पाउने सञ्चालक अधिकारीले बताए ।

“बेरोजगारी र बसाइसराइको समस्या बढ्दै गइरहेको बेलामा आफ्नै जिल्लावासीले रोजगारीको अवसर पाउन भनेर उनको उद्योगलाई यहाँ सारिएको हो । कच्चापदार्थको ढुवानीको हिसाबले पनि यहाँ सहज हुने भएको छ,” उनले भने,“पहाडी क्षेत्रमा उद्योगको विकासको लागि पनि यसले बल पुग्छ । यहाँ सञ्चालनमा रहेको भेनियर उद्योगमा अहिले पनि धेरै जनाले रोजगारी पाइरहेको अवस्था छ । अब प्लाई नै उद्योगसमेत यहीँबाट चलेपछि करिब तीन सय जनाले रोजगारीको अवसर पाउने छन् ।”

कपिलवस्तुबाट उत्पादन भएको अधिकांश प्लाई अहिले पनि गण्डकी प्रदेशमै खपत हुने गरेको र अब पर्वतबाट उत्पादन हुने प्लाई पनि सोही बजारमा निर्यात हुने अधिकारीले बताए । साविकको धौलागिरिसहित दाङ, नेपालगञ्ज, रुकुम, रोल्पा, सल्यान, बुटवल, पोखरा, लमजुङलगायतका जिल्लामा निर्यात हुने गरेकोमा अब पनि सोही जिल्लामा निर्यात हुने छ ।

अहिलेसम्म पर्वतमा उत्पादित भेनियरलाई कपिलवस्तुमा लगेर प्लाई बनाएर फेरि यतैको क्षेत्रमा ल्याएर बिक्री गरिन्थ्यो । अब भने उत्पादन नै पर्वतबाट हुने भएपछि कच्चा पदार्थको ढुवानीमा लाग्दै आएको खर्च कटौती हुने भएको छ । यसले कम्पनीको मुनाफा बढ्ने र ग्राहकले पाउने दरमा केही सस्तो पर्नेछ ।

गण्डकी प्रदेशमा यस अगाडि तनहुँको दमौलीमा प्लाइ उद्योग रहेको र पर्वतमा सञ्चालन भएको दोस्रो उद्योग बनेको अधिकारीले बताए। तर नेपालको वर्तमान अवस्था, आर्थिक चुनौती र बैंकबाट हुने लगानीको अवस्था हेर्दा उद्योग सञ्चालन चुनौतीपूर्ण रहेको उनको भनाइ छ । त्यसमा पनि नेपालको वन ऐनले उद्योग र नागरिक दुवै पक्षलाई समस्यामा पार्दा वनमा काठ कुहिने तर उद्योगले सामग्री नपाउने अवस्थाप्रति उहाँले चिन्ता व्यक्त गरे ।

“नेपालको वन ऐन जटिल रहँदा ढलेर कुहिएका रुख खरिद गर्नसमेत समस्या हुने गरेको छ । आफ्नो जग्गामा भएका उत्तिस लगायतका काठ बिक्री गर्न पनि नागरिकले धेरै चुनौती र खरिदकर्ताले पनि चुनौती भोग्न ुपरेका कारण पनि कति काठ र कुकाठ खेरगइरहेको अवस्था छ”, अधिकारी भन्छन्, “यसलाई खेर जान नदिने हो भने किसानले कति आम्दानी गर्न सक्ने मौका छ । गण्डकी प्रदेश सरकारले वन ऐनलाई सहज बनाउँदै काठलाई ताजा तरकारी सरह लिने भनेको भए पनि त्यो अवस्था सहज बनिसकेको छैन ।”

माइतीघरमा जेन–जीको प्रदर्शनमा बढ्दै भीड (तस्वीरहरु)

काठमाडौं । भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताको आह्वानमा काठमाडौंमा प्रदर्शन शुरु भएको छ । माइतीघरमा जम्मा भएका प्रदर्शनकारी कोही कलेज पोशाकमा छन् भने केहीले उत्तेजक राजनीतिक नारा समेत लगाइरहेका छन् । सरकारले सामाजिक सञ्जाल बन्द गराएको विरोध गराएको विरोधमा जेनजी युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा गरेको प्रदर्शनमा भिड बढ्दै गएको छ ।

उनीहरूले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा प्रदर्शन गरेका हुन् । उनीहरूले केही नेता र मन्त्रीको नामै किटेर प्लेकार्डमार्फत विरोध जनाएका छन् । प्रदर्शनमा कलाकार, अभियन्ताहरू पनि मिसिँदै छन् । उनीहरूले आफूहरू कुनै राजनीतिक पार्टीको नभएको बताएका छन् । ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड उनीहरूले बोकेका छन् ।

सामाजिक सञ्जालमार्फत् गरेको आह्वान अनुसार प्रदर्शनमा उत्रिएका जेनजीले राजनीतिक दलका नेता–कार्यकर्तालाई प्रदर्शनमा सहभागी नगराउने बताएका छन् । प्रदर्शनको क्रममा रुख बिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने, सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता समेत जनाएका छन् । जेनजीले काठमाडौं उपत्यका बाहिरका रुपन्देही, दाङ लगायतका जिल्लाहरू पनि प्रदर्शन गरेका छन् ।

चोक–चोकमा बाक्लै सुरक्षाकर्मी परिचालन
काठमाडौंमा जेनजीको प्रदर्शनलाई मध्यनजर गर्दै गर्दै सोमबार बिहानैदेखि मुख्य चोकहरूमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सोमबार बिहानैदेखि काठमाडौंका मुख्य चोकहरूमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । लैनचौर, दरबारमार्ग, त्रिपुरेश्वर, घण्टाघर, बागबजार, नयाँबानेश्वर जस्ता मुख्य ठाउँहरूमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसका साथै जेनजीको प्रदर्शनमा घुसपैठ हुनसक्ने र तोडफोड तथा अराजकता फैलनसक्ने भन्दै सादा पोशाकका प्रहरी पनि परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहरा पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘संख्या यति नै भन्ने भन्दा पनि आवश्यकता अनुसार प्रहरी परिचालन गरेका छौं । प्रदर्शन शान्तिपूर्ण बनाउन प्रहरी सक्रिय भएर लागि परेको छ’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले भने ।

काठमाडौंका मुख्य चोकहरूमा नेपाल प्रहरीलाई तैनाथ गरिएको छ । नयाँ बानेश्वर क्षेत्र लगायत निषेधित क्षेत्रजस्ता ठाउँहरुमा भने सशस्त्र प्रहरीलाई खटाइएको छ । यसका साथै सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) बाट पनि सूचकहरूको परिचालन गरिएको छ । जेनजीले आइतबार मात्रै प्रशासनसँग माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शनका लागि ठाउँ मागेका थिए । प्रशासनले अनुमति दिएपछि उनीहरूले आज प्रदर्शनको सुरुवात गरिसकेका छन् ।

प्रहरी स्रोतका अनुसार माइतीघर क्षेत्रमा अहिले करिब ५ सयको हाराहारीमा जेनजीहरू उपस्थित भएका छन् । ११ बजेबाट प्रदर्शनका समय राखिएकाले आउनेक्रम जारी रहेको देखिन्छ । सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूको छोराछोरीहरूको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबार प्रदर्शन सुरु गरेका हुन् । उनीहरूले प्रदर्शन शान्तिपूर्ण बताएका छन् ।

जेनजीले प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार जिल्ला सुरक्षा समितिको बैठक नै डाकेको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले सुरक्षा समितिको बैठकमा सुरक्षा रणनीति बनाएर काम गर्न निर्देशन दिएका थिए । अहिले सोही अनुसार प्रहरी परिचालन भएको बताइएको छ ।

संसदीय सुनुवाइ समितिका नव निर्वाचित सभापति खतिवडाको शपथ आज

काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त) को नव निर्वाचित सभापतिमा रामहरि खतिवडाले आज शपथ ग्रहण गर्दैछन् । सोमबार बिहान ११ बजे कृषि समितिको हलमा शपथ ग्रहण कार्यक्रम राखिएको छ । गएको शुक्रबार खतिवडा संसदीय सुनुवाइ समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका थिए ।

‘संघीय निजामती सेवा विधेयक, २०८० को ‘कुलिङ अफ पिरियड’सम्बन्धी प्रावधानमा छेडखानी गर्ने काममा संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्‍याएपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका खतिवडालाई फेरि कांग्रेसले सुनुवाइ समितिको सभापति बनाएको हो ।

साउन २८ गते राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबाट राजीनामा दिएका खतिवडालाई एक महिना नबित्दै अर्को समितिमा सभापति बनाइएको हो । समिति सभापति ईश्वरीदेवी न्यौपानेले भदौ १० गते राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समिति सभापति बनेकी थिइन् ।

 

आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष)

काठमाडौं । आज (सोमबार) देखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ ।

चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ।
यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ।
यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ। कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ।
पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ। बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ। ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ।
सोह्र श्राद्धको पहिलो दिन पशुपतिनाथ क्षेत्रमा श्रद्धालु ।

बुटवल र दाङमा पनि जेनजीको प्रदर्शन

बुटवल । सामाजिक सञ्जाल बन्दको विरोधमा बुटवलमा पनि जेनजी पुस्ताले प्रदर्शन गरेका छन् । बिहानैदेखि उनीहरूले प्लेकार्ड र नारासहित प्रदर्शन गरेका छन् । उनीहरूले ‘मलाई बोल्न दे सरकार’, ‘नेताका छोराछोरी विदेश पढ्छन्, जनताका रातदिन पसिना चुहाउँछन्’ लगायतका नारा लगाएका छन् ।

यस्तै जेनजीले दाङको घोराहीमा पनि प्रदर्शन गरेका छन् । राष्ट्रिय झण्डासहित सडकमा उत्रिएका युवाहरुले ‘सामाजिक सञ्जाल बन्द गरेर भ्रष्टाचार लुक्दैन’ लेखिएको ब्यानर बोकेका छन् । उनीहरुले भ्रष्टाचार र अव्यवस्था विरुद्ध लेखिएका विभिन्न प्लेकार्ड समेत बोकेका छन् । प्रदर्शनमा सहभागीहरुले बजार परिक्रमा गरेका छन् । उनीहरुको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । आज जेनजीले केन्द्रीय राजधानी काठमाडौंसहित ७७ वटै जिल्लामा प्रदर्शन गर्ने कार्यक्रम बनाएका छन् ।

कृषिमा कम भविष्य देख्नेका लागि।।।

भोजपुर । यहाँका किसान व्यावसायिक कृषितर्फ आकर्षित भइरहेका छन् । कृषिमा कम भविष्य देख्नेका लागि अब यी किसान उदाहरणीय बन्न थालेका छन् । यहाँका किसानले कृषि व्यवसायबाट लाखौँ रुपैँया आम्दानी गरिरहेका छन् ।

भोजपुरमा उत्पादन भएका कृषि उपजहरूले बाह्य जिल्लाका बजारमासमेत स्थान पाउन थालेका छन् ।सबै स्थानीय तहमा किसानले व्यवस्थित ढङ्गले कृषि व्यवसाय सञ्चालन गरिरहेका छन् । यहाँ उत्पादन हुने तरकारी, अकबरे खुर्सानी तथा फलफूल धरान, विराटनगर तथा काठमाडौँ जस्ता सहरमा पुग्न थालेका छन् ।

सडकको सहज पहुँच भएका स्थानका किसानको फार्मबाट नै सोझै कृषि उत्पादन बाह्य जिल्लामा जाने अवस्था रहेको स्थानीय किसान रमिला श्रेष्ठ बताउछीन् । “कृषिकर्ममा बाँच्ने आधार बनेको छ,” उनले भनीन्, “व्यावसायिक रूपमा गरिएको तरकारी खेतीबाट वार्षिक रु तीन लाखसम्म आम्दानी हुन्छ ।” सडकको सहज पहुँचका कारण बजारमा पु¥याउन सजिलो भएको किसानहरूको भनाइ छ ।

भोजपुरको पौवादुङमाका किसान ध्रुव राईले व्यावसायिक रूपमा फलफूल, खुर्सानी तथा तरकारीखेती गरिरहेका छन् । व्यावसायिक कृषिमा लागेर मनग्य आम्दानी गर्दै आएको उनको भनाइ छ । “खुर्सानी तथा तरकारी खेतीबाट राम्रो आम्दानी लिइरहेको छु,” उनले भने, “व्यावसायिक कृषिबाट वार्षिक रु चार देखि छ लाखसम्म आम्दानी हुन्छ । कृषिमा लाग्न स्थानीय तहबाट पनि आवश्यक सहयोग पाइरहेको छु ।”

अरुण गाउँपालिका–६ जरायोटारका प्रेमकुमार राईले पनि एभोकाडोको व्यावसायिक खेती गरिरहेका छन् । करिब पाँच वर्ष विदेश बसेर फर्किएका राईले आफ्नै देशमा केही गर्ने उद्देश्यले एभोकाडो खेती सुरु गरेका हुन्। राईको फार्ममा अहिले एक हजारभन्दा बढी एभोकाडोका बिरुवा छन् । अबका केही वर्षभित्र ती बिरुवाले उत्पादन दिन सुरु गर्ने उनको भनाइ छ । सबै बिरुवाले आम्दानी दिँदा वार्षिकरूपमा रु २५ देखि ३० लाखसम्म आम्दानी गर्ने लक्ष्य रहेको उनले बताए ।

सरकारले किसानलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएसँगै कृषितर्फ आकर्षण बढेको देखिन्छ । पछिल्लो समय फर्म नै दर्ता गरेर कृषि तथा पशुपालन व्यवसाय गर्नेको सङ्ख्या बढिरहेको छ । प्रोत्साहनमूलक कार्यक्रम सञ्चालनमा आएसँगै कृषि क्षेत्रमा युवाकोसमेत आकर्षण बढेको छ ।

जापानीज इन्सेफ्लाइटिसबाट तीनको मृत्यु, नौं जनामा डेङ्गी संक्रमण पुष्टि

नवलपरासी । जापानीज इन्सेफ्लाइटिस संक्रमणबाट बर्दघाट सुस्तापश्चिम नवलपरासीेमा तीन जनाको मृत्यु नौ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ । उपचारका क्रममा बर्दघाट नगरपालिका– १२ का ७४ वर्षीय पुरुष, सरावल गाउँपालिका–१ का ६२ वर्षीय पुरुष र प्रतपापुर गाउँपालिका–१ का ५० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख भेषराज शर्माले जानकारी दिए ।

उनका अनुसार विगत डेढमहिनाका अवधिमा उनीहरुको मृत्यु भएको हो । संक्रमण विरुद्धको खोप नलगाएका तीन जना वृद्धको जापानीज इन्सेफ्लाइटिस्बाट मृत्यु भएको हो । लामखुट्टेको टोकाइबाट जिल्लामा नौ जनामा डेङ्गीरोग संक्रमण पुष्टि भइसकेको छ । सरसफाइ नहुँदा तीव्र गतिमा सङ्क्रमण फैलिने गरेको छ ।

जापानीज इन्सेफ्लाइटिस् र डेङ्गीको जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहदेखि नै लामखुट्टे नियन्त्रण तथा डेङ्गीको रोकथामका लागि जनचेतना फैलाउने काम भइरहेको छ । जापानीज इन्सेफलाइटिस् तथा डेङ्गी रोग लागेका हाँस, कुखुरा जस्ता चराचुरुङ्गी र सुँगर–बङ्गुरजस्ता संक्रमित जनावरलाई लामखुट्टेले टोकेर मानिसलाई टोकेमा सर्ने गर्दछ । एडिस एजिप्टी प्रजातिको लामखुट्टेले संक्रमित व्यक्तिबाट स्वस्थ मानिसमा संक्रमण फैलिने निमित्त प्रमुख शर्माले बताए ।

डाक्टर नुरुलहोदाले डेङ्गीका सामान्य लक्षण उच्च ज्वरो, टाउको दुखाइ, आँखा भन्दा पछाडि दुख्ने, स्नायु र मांसपेशी दुख्ने खाना नखाने जस्ता लक्षण देखिन्छ । समयमा उपचार नपाएपछि संक्रमितको मृत्यु हुनसक्छ । जापानीज संक्रमण इन्सेफलाइटिस् व्यक्तिको मस्तिष्कमा हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो रोग लागेपछि मस्तिष्क सुन्निने, पक्षाघात हुने, रिङटा लाग्ने बेहोस हुने, मृत्यु समेत हुनसक्छ डाक्टर होदाले बताए ।

जेनजीको प्रदर्शनलाई हरिवंशको समर्थन : उमेर पुगेकाहरुले अब युवालाई हस्तान्तरण गर्नु उत्तम

काठमाडौं । अव्यवस्थाविरुद्ध आन्दोलनमा उत्रिएका ‘जेनजी’ लाई कलाकार हरिवंश आचार्यले पनि समर्थन गरेका छन् । उनले अब उमेर पुगेकाहरुले युवा पुस्तालाई हस्तान्तरण गर्न अपिल समेत गरेका छन् । आज बिहान समाजिक सञ्जाल फेसबुकमा आफ्नो घर अगाडि कालोपत्र गरेको केही दिनमै भत्किएको फोटो देखाउँदै उनले अहिलेको अव्यवस्थाको एउटा नमूना देखाएका छन् ।

उनले यो एउटा अव्यवस्थाको उदाहरण मात्र भएको बताउँदै जेनजीले अहिले उठाएको आवाज कुनै व्यवस्थाविरुद्ध नभई व्यवस्था हाँकिरहेका दलका नेता र कर्मचारीमाथि भएको उल्लेख छ । ‘आज उठेको आवाज कुनै व्यवस्था विरुद्वको आवाज होइन तर यो व्यवस्था हाकिराख्नु भएका सबै दलका नेता र कर्मचारीको कार्य माथिको प्रश्न हो । जनताले तपाईंहरुबाट अहिले गरिराख्नु भएको भन्दा धेरै आशा गरेका छन । अब उमेर भएकाले आफ्नो कार्य क्षमता सुधार्ने र उमेर पुगेकाले युवा पुस्तालाई हस्तान्तरण गर्नु नै उत्तम हुनेछ’ कलाकार आचार्यले भनेका छन् ।

हेर्नुस् आचार्यको स्टाटस :

मेरो घर छेउको बाटो पिच गरेको केही समयमै भत्कियो । म हरेक दिन मनमा सोच्दै थिए यो बाटो यति चाँडो कसरी भत्कियो ? हरेक दिन त्यही बाटो हिड्छु तर सोच्छु मात्र । तर अहिलेको पुस्ता यस्ता प्रश्न मनभित्र मात्र सोच्दैनन् । प्रश्न उठाउँछन्, जनताको करले बनेको बाटो किन भत्कियो ? कसरी भत्कियो ? यसको जिम्मेवारी कसको ? यो एउटा सानो उदाहरण मात्र हो आजका पुस्ताले प्रश्न गरेका । आज उठेको आवाज कुनै व्यवस्थाबिरुद्वको आवाज होइन तर यो व्यवस्था हाकिराख्नु भएका सबै दलका नेता र कर्मचारीको कार्यमाथिको प्रश्न हो । जनताले तपाईंहरुबाट अहिले गरिराख्नु भएको भन्दा धेरै आशा गरेका छन । अब उमेर भएकाले आफ्नो कार्य क्षमता सुधार्ने र उमेर पुगेकाले युवा पुस्तालाई हस्तान्तरण गर्नु नै उत्तम हुनेछ ।

घाँस काट्दै गर्दा चट्याङ लागेर महिलाको मृत्यु

सिरहा । सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सिरहा नगरपालिका–१९ स्थित जोगिया टोलकी ५० वर्षीया सुलेनादेवी मण्डलको आइतबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार मण्डल आफ्नै खेतमा घाँस काट्ने क्रममा चट्याङ लागेको थियो ।

सूचना अधिकारी पासवानले भने, ‘अचानक मौसम बदलिएसँगै परेको चट्याङले लागेपछि घटनास्थलमै उहाँको मृत्यु भएको पुष्टि भएको छ ।’ प्रत्येक वर्ष मनसुनको समयमा चट्याङ लाग्ने घटनामा वृद्धि हुने गरेको भन्दै उनले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

 

माइतीघरबाट जेनजीको प्रदर्शन सुरु

काठमाडौं । काठमाडौंमा जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताको प्रदर्शन सुरू भएको छ । आज (सोमबार) माइतीघरमा भेला भएका जेनजीले प्रदर्शन सुरू गरेका हुन् । सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचारको विषयलाई उनीहरूले प्रदर्शनको मुख्य एजेण्डा बनाएका छन् । प्रदर्शनको व्यवस्थापन गर्न आइतबार केही युवाहरू माइतीघरमै बसेर छलफल गरेका थिए ।

माइतीघरमा जम्मा भएर जेनजी ११ बजेतिर मार्चपास गरी बानेश्वरसम्म पुग्ने कार्यक्रम छ । प्रदर्शन शान्तिपूर्ण हुने पनि उनीहरूले बताएका छन् । प्रदर्शनको क्रममा भाषण नगरिने, नाचगानलगायत कार्यक्रम गर्ने योजना रहेको उनले बताए । काठमाडौंबाहेक पोखरा, दाङ लगायत विभिन्न सहरूहरूमा पनि जेनजीले आजबाट प्रदर्शन गर्दैछ । भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्दको विरोधमा जेन–जी पुस्ताको विरोध डिजिटल हुँदै सडकसम्म पुगेको हो । पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’, ‘नेपो बेबिज’ ट्रेन्डमा थियो ।

सरकारले सामाजिक सञ्जालका केही प्लाटफर्म बन्द गर्ने निर्णय गरेसँगै यो ट्रेन्डले झन् धेरै गति लिएको हो । ‘टिकटक’, ‘रेडिट’ जस्ता सामाजिक सञ्जालबाट फैलिएको यो ट्रेन्ड सडक प्रदर्शनमा पुगेको छ । काठमाडौं जिल्ला प्रशासनका अनुसार ‘हामी नेपाल’ नामक संस्थाले प्रदर्शनका लागि अनुमति लिएको छ । संस्थाका अध्यक्ष सुदन गुरुङका अनुसार पछिल्लो समय सरकारले चालेको कदम र भ्रष्टाचारविरुद्ध यो प्रदर्शन गरिएको हो ।

उनका अनुसार काठमाडौंसँगै देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । उनीहरूले प्रदर्शन कहाँबाट सुरु गर्ने, कसरी सुरक्षित हुनेलगायतका टिप्सहरू सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरिरहेका छन् । विद्यार्थीलाई ड्रेस र पुस्तक नै बोकेर सडकमा उत्रिन पनि संस्थाले आह्वान गरेको छ । उनीहरूको प्रदर्शनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापत रवि लामिछाने लगायतले ऐक्यबद्धता जनाएका छन् ।

त्रिभुवन विश्वविद्यालयले माग्यो ठूलो संख्यामा उपप्राध्यापक (सूचनासहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकै पटक ठूलो संख्यामा उप–प्राध्यापक पदको लागि दरखास्त माग गरेको छ । त्रिवि सेवा आयोगको कार्यालयले आज सूचना जारी गर्दै खुला प्रतियोगितामार्फत् ३५२ जना उपप्रध्यापकको पदपूर्ति गर्न लागिएको जनाएको छ । खुला तथा समावेशी प्रणालीमार्फत् पदपूर्ति गरिने सूचनामा उल्लेख छ ।

योग्यता पुगेका नेपालीले यही भदौ २९ गतेदेखि आगामी कात्तिक १२ गतेसम्म अनलाइन माध्यमबाट दरखास्त दिन सक्ने जनाइएको छ । दोब्बर दस्तुर तिरेर भने कात्तिक १९ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

हेर्नुस् सूचना

जेनजीको प्रदर्शनमा दलका भ्रातृ संस्थालाई ‘निषेध’

काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलित जेनजी पुस्ताले राजनीतिक दल निकटका भ्रातृसंस्थाहरूलाई प्रदर्शनमा आउन ‘निषेध’ गरेको छ । स्वतःस्फुर्त रूपमा काठमाडौंको माइतीघर मण्डलामा भेला भएका उनीहरूले दल निकटका भ्रातृ संस्थालाई प्रदर्शनमा सहभागी नभई दिन आग्रह गरेका हुन् ।

उनीहरूले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् । कतिपय युवाहरू कलेज र स्कुल पोशाकमा समेत देखिएका छन् । पहिले सामाजिक सञ्जालका पोस्टमा मात्र सीमित सरकार र राजनीतिक दलका नेताविरुद्धको आक्रोशलाई जेनजीले सडकमा उतारेका हुन् ।

जेनजीलाई विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, कलाकार, विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्ति र स्वतन्त्र युवाहरूले समर्थन गरेका छन् । पहिले सामाजिक सञ्जालका पोष्टमा मात्र सीमित सरकार र राजनीतिक दलका नेताविरुद्धको आक्रोशलाई जेनजी पुस्ताले सडकमा उतारेका हुन् ।

माइतीघरमा आज ‘जेन जी’ को प्रदर्शन : सुरक्षा व्यवस्था कडा

काठमाडौँ । जेनजी पुस्ताले आज (सोमबार) काठमाडौँमा प्रदर्शन गर्दैछन् । बिहान ९ बजेदेखि माइतीघरमा जम्मा भएर प्रदर्शन गर्ने उनीहरुको तयारी छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरुलाई निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी प्रदर्शन गर्न अनुमति दिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी छवि रिजालले माइतीघरमा गर्न लागेको प्रदर्शनलाई अनुमति दिइएको बताए । ‘हामीलाई औपचारिक र अनौपचारिक रूपमा प्रदर्शनको जानकारी प्राप्त भएको छ । कतिपय हामीले बाहिरबाटै सूचना लिएका हुन्छौं । त्यसअनुसार निषेधित क्षेत्र बाहेकका ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्नलाई रोकेको छैन,’ उनले भने । यद्यपि आवश्यक परेको खण्डमा प्रहरीको संख्या बढाउन समेत सकिने उनले बताए ।

विभिन्न व्यक्ति र समूहहरुले समेत ऐक्यबद्धता जनाएका कारण प्रदर्शनमा ‘घुसपैठ’ हुनसक्ने भन्दै प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ। गएको चैत १५ मा हिंसात्मक प्रदर्शन गरेर केही दिनअघि थुनामुक्त भएका दुर्गा प्रसाईंले पनि प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन् । सुरुमा प्रदर्शनमा सहभागी हुने बताएका प्रसाईलाई जेनजीले ‘निषेध’ को झण्डा देखाउने बताएपछि उनी पछि हटिसकेका छन् ।

प्रशासनले घुसपैठ हुन सक्ने आंकलन गर्दै आयोजकहरुलाई सजक हुन आग्रह गरेको छ । प्रहरीले कानूनविपरीतका क्रियाकलाप हुन नदिने भन्दै त्यहीअनुसार जनशक्ति परिचालन गर्ने जनाएको छ । सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय गरेपछि ‘जेनजी’ पुस्ताले प्रदर्शन गर्न लागेका हुन् । उनीहरुले भ्रष्टाचार अन्त्यसहितका विषयलाई मुख्य नारा बनाएका छन् ।

युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमा ‘नेपो बेवी’ ट्रेन्ड चलाएका छन् । कसैका बुवा ठूलो पदमा पुगेको आडमा छोराछोरीले मोजमस्ती गरेको भन्दै उनीहरूले त्यस्ता छोराछोरीको विरोध गरेका हुन् । ‘हामीले शान्तिपूर्ण तरिकाले प्रदर्शन गर्ने हो । बिहान ९ बजेतिर भेला भएर ११ बजेतिर बानेश्वरसम्म मार्च गर्ने तयारी छ,’ जेनजीका एक युवाले भने, ‘यसको आयोजक यही हो भनेर छैन । यसमा सानो सानो समूह समूहमा साथीहरू भेला हुनु भएको छ ।’ प्रदर्शनको क्रममा भाषण नगरिने, नाचगान, लगायत कार्यक्रम गर्ने योजना रहेको उनले बताए ।

६१ उपसचिव र शाखा अधिकृतको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र शाखा अधिकृत गरेर ६१ जना कर्मचारीको सरुवा गरेको छ ।
मन्त्रालयले आइतबार ४४ उपसचिव र २८ शाखा अधिकृतकर्मचारीको सरुवा गरेको हो ।

जसमा २८ जना शाखा अधिकृतको सरुवा गर्दा १६ जना शाखा अधिकृतलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ । मन्त्रालयले स्थानीय तहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शून्यमा झार्ने उद्देश्य अनुरुप अहिले १६ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।

हेर्नुस् सूची

जेनजीको प्रदर्शनलाई कारागारबाटै रविको ऐक्यबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज (सोमबार) हुने जेनजीको प्रदर्शनलाई समर्थन जनाएका छन् ।
सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि ललितपुरको नख्खु कारागारमा रहेका लामिछानेले सन्देश पठाउँदै ऐक्यबद्धता जनाएका हुन् ।

उनले लेखेका छन्, आजबाट तपाईहरू सडकमा ओर्लदै हुनुहुन्छ । तपाईहरुमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुनुपर्छ ।शासकहरुले तपाईहरुलाई विधि र विवेकको शासन त दिएनन् नै, आफ्ना खुसी र दुःख, सफलता र असफलता बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसे । सत्ता र शक्तिको नशामा चूर अनि घमण्ड र प्रतिशोधको आनन्दमा मग्न यिनीहरूलाई थाहा छैन, तपाईहरूको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ ।’

उनले भनेका छन्, ‘आजको दिन इतिहासको नयाँ सुरुवातको दिन हो । घुसपैठ हुन सक्छ सचेत हुनुहोस्, उत्तेजित बनाउन सक्छन् विवेक प्रयोग गर्नुहोस् । तपाईको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईकै हातबाट लेखिँदैछ । नख्खु जेलको कालकोठरीबाट म तपाईहरूप्रति शुभेक्षा, सदभाव र ऐक्यबद्दता प्रकट गर्दछु ।’

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । आज (सोमबार) देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाले बिहान ६ बजे २४ घण्टे बुलेटिन जारी गर्दै मौसम पूर्वानुमानबारे जानकारी गराएको छ ।

आज दिउँसो देशका पहाड भेगमा साधारणतया बदली र बाँकी स्थानमा आंशिक बदली रहनेछ । देशका पहाड भूभागका केही स्थान र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश र बागमती प्रदेशका पहाड भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आज राति कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका पहाड भेगमा साधारणतया बदली र बाँकी ठाउँमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका पहाड भू–भागका केही स्थान र बाँकी पहाड र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

जेन जी आन्दोलन तालिका : माइतीघरदेखि बानेश्वरसम्म मार्चपास

काठमाडौं । माइतीघरमा आज (आइतबार) बसेको जेन जीका युवाहरुको बैठकले भोलि भदौ २४ गते हुने आन्दोलनको तालिका तयार गरेका छन् । तालिकाअनुसार भोलि बिहान ९ बजे जेन जेडहरु माइतीघरमा भेला हुनेछन् ।
माइतीघरबाट बानेश्वरको एभरेस्ट होटलसम्म मार्चपास गर्ने कार्यक्रम तय गरिएको छ ।

आन्दोलनमा कसैले पनि सम्बोधन नगर्ने भएका छन् । बैठकमा सहभागी एक सदस्यले सुनाए, ‘आन्दोलन केन्द्रित गीत, कविताहरु बाचन गर्न पाइनेछ । तर, स्रष्टाहरु २८ वर्षभन्दा कम उमेरको हुनुपर्नेछ ।’ नेपाल सरकारले फेसबुक लगायत सामाजिक सञ्जाल निष्क्रिय पारेपछि जेन जेड पुस्ताले आन्दोलनको घोषणा गरेका हुन् ।

बिना शर्त सामाजिक सञ्जाल पुनः सक्रिय बनाइनुपर्ने, पुराना नेताहरुले प्रधानमन्त्री बन्दिनँ भनेर प्रतिबद्धता व्यक्त गर्नुपर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष रुपमा आयुक्त नियुक्ति गर्नुपर्ने लगायतका मागअघि अघि सारिएको छ । आन्दोलनलाई विभिन्न दलका नेता तथा सेलिब्रिटीहरुले ऐक्यवद्धता जनाइरहेका छन् । जेन जीको आन्दोलनलाई काठमाडौं महानगरका मेयर बालेन शाह, कलाकार / निर्देशक निष्चल बस्नेत, गायक शिव परियारलगायतले पनि समर्थन जनाएका छन् ।

ग्रीसको आर्थिक नीति सशक्त बन्दै: कर छुट र श्रमिक हितमा जोड

ग्रीस । ग्रीसका प्रधानमन्त्री क्यरियाकोस मित्सोताकिसले शनिबार २०२६ का लागि १.६ अर्ब युरो ९लगभग १.८८ अर्ब अमेरिकी डलर० बराबरको आर्थिक प्याकेज सार्वजनिक गरेका छन्। थेसालोनिकी अन्तर्राष्ट्रिय मेलाको ८९औं संस्करणमा सम्बोधन गर्दै प्रधानमन्त्रीले कर छुट, पारिवारिक सहायता तथा युवा श्रमिकहरूको हितलाई ध्यानमा राखेर विभिन्न प्रोत्साहनात्मक उपायहरू घोषणा गरे।

उक्त योजनाअनुसार सबै करदाताहरूका लागि आम्दानी करमा स्थायी रूपमा दुई प्रतिशत अंकले कटौती गरिनेछ। २५ वर्षमुनिका श्रमिकहरू, जसको वार्षिक आम्दानी २० हजार युरोसम्म छ, तिनीहरूलाई कर छुट दिइनेछ। साथै, चार वा सोभन्दा बढी सन्तान भएका परिवारहरूले आम्दानी कर तिर्नु नपर्ने व्यवस्था गरिएको छ। मध्यम वर्गीय नागरिकहरूले पनि कर दरमा राहत पाउनेछन् भने पेन्सनप्राप्त नागरिकहरू तथा सुरक्षाकर्मीहरूको पारिश्रमिकमा वृद्धिको व्यवस्था गरिनेछ।

प्रधानमन्त्री मित्सोताकिसले आर्थिक वृद्धिको निरन्तरता, कर छलविरुद्धका सुधार प्रयास र वित्तीय अनुशासनका कारण यस्ता कदमहरू सम्भव भएको उल्लेख गरेका छन्।

यद्यपि, देशका विभिन्न सहर थेसालोनिकी र एथेन्समा केही नागरिकहरूले शान्तिपूर्ण प्रदर्शन गर्दै उक्त प्याकेजलाई अपर्याप्त ठानेको जनाएका छन्। प्रदर्शनकारीहरूले भ्रष्टाचारसम्बन्धी केही घटना र विगत वर्ष भएको रेल दुर्घटनाप्रति सरकारको प्रतिक्रिया प्रति असन्तुष्टि व्यक्त गरेका थिए।

दुर्गा प्रसाईले भने–जेन जीको प्रदर्शनमा आउँदिन, आन्दोलन राम्रोसँग गर्नू

काठमाडौं । जेन जी पुस्ताले भोलि (सोमबार) थापाथलीस्थित माइतीघर मण्डलामा गर्न लागेको आन्दोलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाई सहभागी नहुने भएका छन् । जेन जीको आन्दोलनले दुर्गा प्रसाईलाई निषेध गरिने बताएपछि प्रसाईले आफू आन्दोलनमा सहभागी नहुने जनाएका हुन् । नेपाल सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाएपछि तीन बुँदे मागसहित जेन जी पुस्ताले भोलि माइतीघरमा शान्तिपूर्ण आन्दोलन गर्दैछन् ।

बिना शर्त सामाजिक सञ्जाल सक्रिय बनाउनुपर्ने, पुराना नेताहरूले पुनः प्रधानमन्त्री नहुने प्रतिबद्धता व्यक्त गर्नुपर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजनीतिक नियुक्तिका आधारमा आयुक्त नियुक्त नगरिनु पर्ने जेन जेड पुस्ताको माग छ । यो आन्दोलनमा प्रसाईले पनि सहभागिता जनाउने घोषणा गरेका थिए । फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका थिए ।

प्रसाइँको स्ट्याटसपछि भोलिको आन्दोलनका सक्रिय जेन जेड सदस्यहरू तीनकुनेमा बैठक बसेर प्रसाई आएमा ‘नट अलाउड’ को ब्यानर देखाउने निर्णय गरेका थिए । यसपछि उनीहरू माइतीघरमा बैठक बस्न पुगेका थिए । उनीहरू बैठक बसिरहेकै बेला एक जेन जेड प्रतिनिधिलाई प्रसाईले फोन गरी आफू आन्दोलनमा नआउने जानकारी गराएका हुन् । बैठकमा सहभागी एक सदस्यका अनुसार प्रसाईले फोन गरेर भने, ‘म भोलि आउँदिनँ भाइ हो । आन्दोलन राम्रोसँग गर्नू’, भनेको बताए । भोलि बिहान ९ बजेबाट जेन जेड पुस्ताले माइतीघरमा आन्दोलन गर्दैछ ।

प्रदर्शन शान्तिपूर्ण हुने, सबैलाई साथ दिन अपिल
जेन जीले भोलि गर्न लागेको प्रदर्शन शान्तिपूर्ण र मर्यादित हुने जनाएको छ । प्रदर्शनको आयोजकहरुमध्येको एक आम नेपाली युवाले आइतबार एक सूचना जारी गर्दै काठमाडौँको माइतीघर मण्डलासहित देशभरि एकैसाथ ‘भ्रष्टाचारलगायत देशमा व्याप्त सम्पूर्ण बेथिति विरुद्ध’ प्रदर्शन हुने बताएको छ ।

भ्रष्टाचारविरुद्धको संघर्ष केवल युवाहरूको मात्र नभई सम्पूर्ण नेपाली जनताको साझा अभियान भएको भन्दै सहभागिता जनाउन पनि आग्रह गरिएको छ । प्रदर्शनसम्बन्धी कार्यक्रमबारे विस्तृत जानकारी अर्को विज्ञप्तिबाट सार्वजनिक गरिने समेत बताइएको छ ।