`

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चारको मृत्यु, तीन जना घाइते

सर्लाही । सर्लाहीमा दशैंमा घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी योगेन्द्रकुमार खड्काले दिएको जानकारीअनुसार आज (बुधबार) बिहान सवा ९ बजेतिर हरिपूर्वा नगरपालिका–१ स्थित हर्दीखोला किनारमा माटो निकाल्ने क्रममा माथिबाट खसेको ढिस्कोमा पुरिएर चार जनाको मृत्यु भएको हो ।

ढिस्कोले पुर्दा महोत्तरी जिल्ला सोनमा गाउँपालिका ६ मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ९ वर्षीया नर्गिस खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ६ वर्षीया सविवा खातुनको मृत्यु भएको एसपी खड्काले बताए ।

‘अरु तीन जना घाइते पनि भएको जानकारी प्राप्त भएको छ तर डिटेल आइसकेको छैन’, उनले भने । उनका अनुसार चारै जनाको शव अहिले प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । घटनास्थलमा प्रहरी पुगेर थप विवरण लिने काम गरिररहेको एसपी खड्काले बताए । घटनास्थल सर्लाही र महोत्तरीको सीमामा पर्छ ।

दशैंको मुखमा प्रधानाध्यापकले गरे श्रीमतीको हत्या

सुनसरी । सुनसरीमा एक महिलाको हत्या भएको छ । दशैंमा परिवारमा रमाइलो गर्दै बस्नु पर्ने बेला श्रीमती हत्याको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् ।

सुनसरी जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको इटहरी उपमहानगरपालिका–२०, खनारस्थित आफ्नै घरमा मंगलबार झगडाका क्रममा प्रधानाध्यापक सुमन दाहालले पत्नी अनिशा भट्टराईको हत्या गरेका हुन् ।

दाहाल खोटाङ जिल्ला ऐसेलुखर्क गाउँपालिका–१, राखाबाङ्देलस्थित रावाथुम प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन् । उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी केशवकुमार थेबेले जानकारी दिए ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट श्रीमान–श्रीमतीबीच विवादका क्रममा उक्त घटना भएको देखिएको छ । पतिको कुटाइबाट अनिशाको मृत्यु भएको प्रहरीले जनाएको छ । भट्टराई इटहरीमा बसेर शिक्षक सेवा आयोगको तयारी गरिरहेकी थिइन् ।

प्रहरीका अनुसार पोस्टमार्टमका लागि शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ । घटनाको पृष्ठभूमि र कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेताहरुको पासपोर्ट रोक्काप्रति कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले अन्तरिम सरकारलाई दण्डहीनतालाई प्रोत्साहन नगर्न र दलहरूमाथि प्रतिशोधपूर्ण राजनीति तत्काल रोक्न कडा चेतावनी दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार आफ्नो जिम्मेवारीभन्दा अलग बाटोमा हिँड्न खोजेको आरोप लगाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३ र २४ गतेका घटनाको छानबिन प्रारम्भ नहुँदै राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रही र प्रतिशोधपूर्ण ढंगले आयोगको हवाला दिँदै गैरकानूनी र गैरसंवैधानिक कार्यहरू गर्न लगाइएको देखिन्छ । सरकारको निर्देशनमै राहदानी रोक्का गर्ने, आवतजावतमा प्रतिबन्ध लगाउने जस्ता कदमहरू खुलेआम राजनीतिक प्रतिशोधको द्योतक हुन् ।’

कांग्रेसले जेन–जी पुस्ताले आह्वान गरेको शान्तिपूर्ण प्रदर्शनको आवरणमा अराजकता, आगजनी, तोडफोड र लुटपाट हुँदा मुलुकमा ठूलो क्षति भएको भन्दै गम्भीर आपत्ति जनाएको छ । पार्टीले घटनाबारे न्यायिक छानबिन आयोग गठन गरेको कदमलाई स्वागतयोग्य भने पनि त्यसकै नाममा दल विशेष र नेताहरूमाथि लक्षित प्रतिशोधी कारबाही स्वीकार्य नहुने चेतावनी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३ र २४ गतेको घटनामा सुरक्षाकर्मी सहित ७६ जनाभन्दा बढीको ज्यान गएको छ, सयौँ घाइते भएका छन्, राष्ट्रलाई खरबौँको क्षति भएको छ । यस्ता घटनाको जति निन्दा गरे पनि कम हुन्छ । तर सरकारद्वारा जारी विज्ञप्ति र गृह मन्त्रालयको परिपत्रले संविधान र विधिको शासन विपरित छ ।’

कांग्रेसले सप्रमाण भेटिएका अपराधीलाई उन्मुक्ति दिने, पीडितलाई अझ आतंकित गर्ने र राजनीतिक दललाई छानीछानी प्रतिशोधी निशाना बनाउने नीति जनताले कहिल्यै स्वीकार नगर्ने स्पष्ट चेतावनी दिएको छ । पार्टीले अन्तरिम सरकारलाई दण्डहीनतालाई प्रोत्साहन गर्ने र दलमाथि प्रतिशोधपूर्ण राजनीति गर्ने बाटो तत्काल छोड्न आग्रह गरेको छ ।

महानवमीका दिन पनि दुर्गा भवानीको ‘खोइँछ’ भरिँदै

महोत्तरी । मधेस प्रदेशको महोत्तरीसहितका जिल्लामा शारदीय नवरात्र (बडादसैँ) पर्वको अवसरमा देवी दुर्गाको ‘खोइँछ’ (पोल्टा) भरिँदैछ । फूलपातीका दिनको सन्ध्या आरतीसँगै देवीको ‘खोइँछ’ भर्नेक्रम सुरु भएको हो । आआफ्नो भाकलअनुसार शक्तिपिठ, मन्दिर र प्रतिमास्थलमा ‘खोइँछ’ भर्न श्रद्धालुको भीड लागिरहेको छ ।

आज नवरात्रको अन्तिम दिन महानवमीको दिन पनि देवीको ‘खोइँछ’ भर्न श्रद्धालु लामबद्ध छन् । यहाँ सोमबार महासप्तमीका दिन बनाइएका माटाका प्रतिमाको प्राणप्रतिष्ठा गरिएसँगै देवी दर्शनका लागि शक्तिपीठ खुला गरिएका छन् । दर्शन खुला गरिएसँगै फूलपातीका दिनको सन्ध्या आरती सकेर ‘खोइँछ’ भर्न थालिएको हो । योक्रम आज महानवमीको मध्यरातसम्म जारी रहनेछ । देवी दुर्गालाई विभिन्न समयमा गरिएको भाकलस्वरुप ‘खोइँछ’ भर्ने चलन बसेको मटिहानी–७ का बासिन्दा ९० वर्षीय प्रेस स्वतन्त्रता सेनानि विन्देश्वरीप्रसाद मण्डल बताउँछन् ।

मैथिल बोलीचालीमा दशहरा भनिने यो पर्वको सप्तमी तिथिमा देवी शक्तिपिठ, मन्दिर र नवस्थापित प्रतिमास्थलमा फूलपाती राखिएसँगै देवी कालरात्रिको पूजाआराधना गरिएपछि ‘खोइँछ’ भर्नेक्रम थालिन्छ । खासगरी विभिन्न समयमा गरिएका भाकलअनुसार देवीको सारीको अँचरा (पोल्टा) मा वस्त्रपरिधान, सौन्दर्य प्रशाधन, द्रव्य (सुन, चाँदीसहितका धातुबाट बनेका गहना), नरिवल, केरासहितका फलफूल र नगद भेटीसहित सामग्री चढाउने विधिलाई मिथिलामा ‘खोइँछ’ भर्ने भन्ने गरिन्छ ।

हाल महोत्तरीको औरही नगरपालिका–७ स्थित सोनामाई देवी शक्तिपिठ, बर्दिवास–४ माइस्थानस्थित पञ्चधुरा माई मन्दिर, बर्दिवास–१ र १४ स्थित दुर्गामन्दिर, जलेश्वरस्थित सन्सारीमाई र राजदेवी मन्दिरमा ‘खोइँछ’ भर्न भीड लागेको छ । ‘खोइँछ’ मा पुरुष सहभागी हुनसक्ने भए पनि यो विधिमा भने महिला बढी सहभागी हुने गरेका छन् । मिथिलामा दसैँको सप्तमीदेखि नवमी तिथिभरि ‘खोइँछ’ भरिने परम्परा छ । मटिहानीस्थित दुर्गा मन्दिरमा स्थापित जिल्लाका देवी प्रतिमामा नेपाली मात्र नभई सीमापारी भारतको मधुवनी जिल्लाका भक्तहरू प्नि ‘खोइँछ’ भर्न लामबद्ध छन् ।

‘खोइँछ’ भरिदा धनधान्य, आरोग्यतासहित इच्छित मनोकामना पूरा हुने मैथिल जनविश्वास रहेको सोनामाईस्थानका पुजारी कामेश्वर झा बताउँछन् । ‘खोइँछ’ भरिनेक्रमसँगै बडादसैंँ पर्वको महासप्तमी पर्वका दिनदेखि नै यी ठाउँ (देवीस्थल)मा बलि दिने क्रम सुरु भएको छ । फूलपाती विधि सम्पन्न भएसँगै सप्तमीकै दिन सुरु हुने बलि आज नवमीमा पनि जारी छ । जिल्लाको प्रसिद्ध सोनामाई देवी शक्तिपिठमा मधेशसका जिल्लाका साथै र छिमेकको भारतीय जिल्लाबाट हजारौँको संख्यामा भक्तजन दर्शन, पूजाआराधना र ‘खोइँछ’ भर्न पुगेका छन् । रासस

 

सडकको डिभाइडरमा स्कुटर ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

कैलाली । कैलालीको धनगढी उपमाहनगरपालिका–१३ राजपुरमा गए राति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित आरपी फ्लोर मिल नजिक अत्तरियातर्फ गइरहेको सु प प्र ०१०११ प ४४७३ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक बैतडीको पुर्चाैडी नगरपालिका–८ का २४ वर्षीय प्रान्जल बमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले स्कुटर अनियन्त्रित भएर सडकको ‘डिभाइडर’ मा ठोक्किएको थियो । घाइते भएका बमलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा स्कुटरमा सवार पुर्चाैडीकै २६ वर्षीय सरोज बम घाइते भएका छन् । उनको माया मेट्रो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मनकामना केबलकार तीन दिन बन्द गरिने

मुग्लिन । मनकामना केबलकार आजदेखि तीन दिन बन्द गरिने भएको छ । केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिए । असोज १८ गतेदेखि पुनः नियमित सेवा सञ्चालनमा आउने उनले बताए ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ । यो नेपालको पहिलो केबलकार हो ।

‘नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध छैन’

भरतपुर । बडादशैंको नवौं दिन आज नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ । दशैं सुरु भएसँगै पहिराका कारण पटक–पटक अवरुद्ध हुँदै आएको नारायणगढ मुग्लिन सडकमा आज भने निर्वाद रूपमा सवारीसाधन सञ्चालनमा छन् ।

हिजोअस्तीको तुलनामा सवारीसाधनको चाप कम रहेको र कुनै अवरोध नरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए । उनका अनुसार दशैं अवधिभर राजमार्गमा सुरक्षाकर्मी २४सै घण्टा खटिएको र यात्रुलाई कुनै पनि समस्या हुन नदिने गरी काम गरिरहेका छन् ।

मङ्गलबार साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको थियो। पहिरो पन्छाएसँगै ८ः४० बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको थियो । गएरातिसम्म सवारीसाधनको चाप रहे पनि हाल निकै कम रहेको प्रहरीले जनाएको छ। तुइन खोलामा पटक–पटक पहिरो खस्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।

सुनसान प्रायः छ काठमाडौँ

काठमाडौं । हाल काठमाडौँका सडक सुनसान प्रायः छन् । दसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आ–आफ्नो जन्मस्थान जान सुरु भएको थियो । हिजोआज दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्म कमी आएको जनाइएको छ ।

उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा देखिने यात्रुको भीड कम हुँदै गएको छ । वर्षभरि रोजगारी, अध्ययन, व्यापार तथा अन्य विभिन्न कारणले राजधानीमा रहेकाहरू दसैँका अवसरमा आआफ्नो गाउँ फर्किएका छन् । लामो समयपछि परिवारसँग पुनर्मिलनको आशा, आफ्नै गाउँको माटोको सुवास, चाडपर्वको स्वाद र बाल्यकालका सम्झनाले सबैलाई तानेको छ ।

सहरी भव्यता र व्यस्त जीवनशैलीबाट केही दिनका लागि टाढा हुँदै गाउँ फर्किने क्रमसँगै राजधानी सुनसान बन्दै गएको छ । ग्रामीण बस्ती भने जीवन्त र रमाइलो हुँदै गएका छन् । विगतमा निकै सवारी चाप हुने काठमाडौँका मुख्य सडकमा हाल सवारी चाप घटेको र उपत्यकामा दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्मको कमी आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीको भनाइले पनि यसलाई पुष्टि गर्छ ।

उनले भने, ‘दसैँका बेला धेरैजसो मानिस गाउँ फर्किसकेका छन्, त्यसैले सडक विगतमा भन्दा खाली भएका छन्, तर ट्राफिक सुरक्षाको दृष्टिले हामी अझै पनि उच्च सतर्कतामा छौँ ।’ गाउँघरमा भने दसैँको आगमनसँगै वातावरण उल्लासमय बन्न थालेको छ । घरआँगनमा टिका र जमरा छर्ने तयारी भइरहेको तथा आआफ्नो धर्म, परम्परा र संस्कारअनुसार चाडको स्वागत भइरहेका दृश्य तथा तस्बिर सामाजिक सञ्जालमा प्रशस्त मात्रामा देखिन थालेका छन् ।

परदेशी मन घर फर्किएसँगै वृद्ध बाबुआमा, दाजुभाइ, दिदीबहिनी तथा नातागोता सबैबीच पुनःभेटको भावनात्मक क्षणहरू साटासाट भइरहेका छन् । दसैँको रमाइलो केबल टीका र मीठा परिकारमा सीमित छैन, यो एकपटक फेरि परिवारसँग बिताउने, पुराना सम्झनालाई जीवन्त बनाउने र समाजमा मेलमिलाप र एकता बढाउने पर्व पनि भएकाले प्रायः गरी परदेशीएकाहरू गाउँघर फर्किने गर्दछन् ।

दसैँको चहलपहल सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँबाट गाउँ फर्किनेको भीड तीव्र रुपमा बढेको थियो । घटस्थापनादेखि मङ्गलबारसम्म आठ दिनको अवधिमा मात्रै पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

बढी भाडादर असुल्नेलाई तत्काल कारबाही गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले स्वीकृत एवं कानुनको प्रतिकूल हुने गरी निर्धारित भन्दा बढी भाडादर असुल्ने यातायात व्यसायीलाई तत्कालै कारबाही गरिने बताएका छन् ।

चाडबाडको मौका छोपी बढी भाडादर असुल्ने गरेको, टिकटको कालोबजारी गरेकोलगायतका गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले कानुन विपरीतका त्यस्ता क्रियाकलाप तत्काल बन्द गर्न आग्रह गरे।

हालको देशको विषम परिस्थितमा यातायात व्यवसायीलगायत सबै पक्ष जिम्मेवार बन्नु पर्नेमा यात्रुलाई अनावश्यक दुःख दिएर चाडबाडलाई कमाउने मौका रुपमा प्रयोग नगर्न, स्वीकृत भाडा दरभन्दा बढी असुल नगर्न र टिकटमा कालोबजारी नगर्न आग्रह गरे । यातायात व्यवसायीबाट त्यस्ता क्रियाकलाप गरेको पाइएमा तत्काल स्थानीय सुरक्षा निकाय र प्रशासनलाई खबर गर्न उनले आग्रह गरेका छन् ।

 

दशैं मेलामा ‘ग्याङ फाइट’, एक युवकको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा आयोजित दशैँ मेलामा दुई समूहबीच झडप हुँदा एक युवकको ज्यान गएको छ । मंगलबार राति भएको झडपमा घाइते भएका २० वर्षीय युवकको नारायणी अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । उनको नाम खुलिसकेको छैन ।

पर्सा प्रहरीका अनुसार मेलामा पसल राख्ने विषयलाई लिएर भएको विवाद झडपमा परिणत भएको थियो । गीता मन्दिर नजिक मेलाको सुरुवाती दिनमै दुई समूहबीच विवाद सुरु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार विवादको वास्तविक कारण अझै खुलेको छैन । नियन्त्रणमा लिइएकासँग सोधपुछ भइरहेको र घटनाबारे अनुसन्धान सुरु गरिएको उनले बताए । मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

तलेजु भवानी मन्दिर आज सबैका लागि खुल्ला, बिहानैदेखि दर्शनार्थीकाे घुइँचो

भक्तपुर । भक्तपुरको ऐतिहासिक एवं धार्मिक आस्थाको केन्द्र तलेजु भवानीको मन्दिर आज बिहानैबाट दर्शनका लागि खुल्ला गरिएको छ । हरेक वर्ष महानवमीको दिन मात्र यो मन्दिर सबैका लागि खुल्ला गरिन्छ । महानवमीका दिन तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण आज दिनभर यहाँ दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्दछ ।

सत्रौं शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने गरेको र जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी भन्ने धार्मिक किंवदन्ती रहेको छ । राजाले क्षमायाचना गरेपछि तलेजुले वर्षको एक पटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेक वर्ष महानवमीका दिन मन्दिरमा प्रकट हुने जनविश्वास छ ।

एक अर्को किंवदन्तीअनुसार उनै त्रिपाशा खेल्ने तलेजु भवानी बालिकाको शरीरभित्र कुमारीको रूपमा प्रवेश गरेको भन्ने गरिन्छ । त्यसै बेलादेखि भक्तपुरमा कुमारीलाई एकान्त कुमारीको रूपमा पुज्न थालिएको हो । कुमारी पुज्ने चलन सबैभन्दा पहिले भक्तपुरबाट सुरु भएर पछि काठमाडौँ र ललितपुरमा बिस्तार भएको भक्तपुर तलेजुका मुख्य नाइके नरेन्द्रप्रसाद जोशीले बताए । विजयादशमीको दिन बिहीबार जीवित देवी कुमारीको हातबाट टीका थाप्ने प्रचलन छ ।

राँगो दौडाउने जात्रा सम्पन्न
यस्तै, महाअष्टमीका दिन राति मनाइने ३२ लक्षणयुक्त निकुथु (निक्खर) राँगो दौडाउने जात्रा सम्पन्न भएको छ । महिषासुरको प्रतीक मानिने निक्खर राँगो जात्रा स्थानीय व्यासी टोलबाट दौडाउँदै यालाछें, बालाखु हुँदै दरबार स्क्वायरसम्म ल्याएर तलेजुमा पुर्‍याई कालरात्री पूजा गरिएको थियो ।

जात्राका क्रममा स्थानीयहरूले बाटोको दुवै छेउमा बसी सुकुन्दा बत्ती बालेर राँगोलाई पूजा गर्ने प्रचलन छ । जात्रा दरबार स्क्वायरमा पुगेपछि खड्ग लिएर बसेका पूजारीले राँगोलाई मूलचोक भित्र्याउन आदेश दिएसँगै तलेजुको मूलचोकमा पुर्‍याएर तलेजुमा कालरात्री मनाइएको तलेजुका मुख्य नाइके जोशीले जानकारी दिए ।

दसैँ महाअष्टमीको अवसरमा तलेजुमा ५४ बोका, ३२ राँगा र ३२ हाँस बलि दिएर कालरात्री मनाइएको उनले बताए । गुठी संस्थान कार्यालय अर्थात् सरकारको व्यवस्थापनमा वर्षौदेखि चल्दै आएको बलि दिने परम्पराअनुसार यस पटक पनि बलि पूजा गरिएको हो ।

 

ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । सडक सुरक्षा र शान्ति सुव्यवस्थाको जिम्मेवारीमा खटिएका प्रहरीलाई अपमानजनक शब्द प्रयोग गरेको आरोपमा सिन्धुली घर भई हाल काठमाडौं बबरमहल बसोबास गर्दै आएका ३६ वर्षीय नेवाङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार तामाङलाई बुद्धनगर क्षेत्रबाट पक्राउ गरिएको हो । कर्तव्य पालनामा तैनाथ प्रहरीलाई उनले अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए । उनीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनले सडकमा खटिएका प्रहरीमाथि अपशब्द बोलेको भिडियो भाइरल भएको थियो ।

फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा २२ जनाको मृत्यु

काठमाडौं । फिलिपिन्समा मंगलबार राति ६.९ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, करिब राति १० बजे सेबु प्रान्तको बोगो सहरको पालोम्पोन नजिकै केन्द्रविन्दु भएर उक्त भूकम्प गएको थियो ।

भूकम्पले मध्य फिलिपिन्स हल्लाएको थियो । भवनहरू भत्किएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, कम गहिराइमा केन्द्रविन्दु रहेको उक्त भूकम्प मंगलबार राति ९ः५० बजे टापुको उत्तरी छेउनजिक ९० हजार मानिसको बसोबास भएको सहर बोगोबाट केही पर गएको थियो ।

प्रहरीको २७ ‘क्विक रेस्पोन्स टिम’ : २४ सै घण्टा सेवा

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले दशैंलगायतका चाडपर्व लक्षित कडा सुरक्षा योजना सार्वजनिक गरेको छ । बडादशैंदेखि दीपावली तथा छठ पर्वसम्मका चाडपर्वलाई लक्षित गरी प्रहरी परिसर भक्तपुरले क्विक रेस्पोन्स टिम परिचालन गरेको हो ।

प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज रेग्मीले मुख्य बजार, चोक, संवेदनशिल क्षेत्र, मठमन्दिर, बैंक तथा वित्तीय सस्थाको सुरक्षाका लागि बेग्लै टोली र कुनै पनि घटनाको जानकारी प्राप्त भएको १० मिनेटमा प्रहरी पुग्ने गरी टोली परिचालन गरिएको जानकारी दिए ।

प्रहरील कुनै पनि सार्वजनिक स्थान, सार्वजनिक सवारी साधन, निजी आवास, व्यापारिकस्थल, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, आर्थिक कारोबार हुने स्थानहरुमा मानिसहरुको चहल पहल एवं आर्थिक कारोबार बढ्ने र त्यस्ता स्थलहरुमा चोरी, डकैती, लुटपाट, पाकेटमारा, सामाजिक सञ्जालमार्फत हुने विविध ठगी, अवैध रुपमा हुने मादक पदार्थ विक्री वितरण, सेवन गर्ने, झै–झगडा, लागु औषध, अपहरण, चन्दा असुली, फिरौती माग, मानव बेचबिखन तथा ओसारपसार, जुवातास लगायतका अपराधहरु नियन्त्रण गर्न युनिट बनाएर प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

वर्तमान परिस्थितिमा थप सुरक्षा चुनौती बढ्न गएको अवस्थालाई मध्यनजर गर्दै आम नागरिकहरुमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन २४सैं घण्टा जनस्तरसम्म सचेतना कार्यक्रम राखिएको उनको भनाइ छ । प्रहरी गस्ती, एम्बुसिङ, चेक प्वाइन्ट, पिकेट, सरप्राइज जाँचका लागि यस परिसर तथा मातहत प्रहरी इकाइमा उपलब्ध प्रहरी जनशक्ति तथा साधनस्रोतलाई उच्चतम प्रयोग एवं परिचालन गरी भरपर्दो तथा प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको जनाइएको छ ।

प्रहरीले आफ्नो घर, टोल, छिमेकमा शंकास्पद गतिविधि भएको पाइएमा वा कुनै घटना भएमा तत्काल प्रहरीको १००, १०३ र जिल्ला प्रहरी परिसर भक्तपुरको सम्पर्क नम्बर ०१–६६१४७०८, ९८५१२८३०२०, ९८५१२९०९७६ मा तत्काल खबर गर्न अनुरोध समेत गरेको छ ।

रोमानियाको होटलमा आगलागी, दुई नेपाली महिलाको मृत्यु

पोल्याण्ड । रोमानियाको एक होटलमा लागेको आगोमा परी दुई नेपाली महिलाको ज्यान गएको छ । रोमानियाको ‘होटल डाले’ मा हिजो भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको हो । उक्त होटल रोमानियाको राजधानी बुखारेष्टबाट लगभग ५२ किलोमिटरमा दूरीको प्रहोभा सहरमा पर्छ ।

आगलागीमा परेर २१ र २४ वर्षका राई तथा तामाङ थरका दुई नेपाली महिलाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको नाम खुलिसकेको छैन । मृत्यु भएका दुई नेपाली महिलाहरू सोहि होटलमा काम गर्ने भएको बताइएको छ ।

‘होटलको माथिल्लो तलामा सुतेको अबस्थामा दुई जनाको मृत्यु भएको हो । एक जनाको अस्पतालमा उपचार भइरहेको होटल बाहिर सुतेका अर्को एक जना सकुशल छन्’ आगलागीबाट घाइते भएका व्यक्तिलाई उदृत गर्दै नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्य ल्हाक्पातेन्जी लामा शेर्पाले जानकारी दिए ।

अग्नि सुरक्षासम्बन्धी अनियमितताका कारण उक्त होटल एक हप्ता अघि नै प्रशासनले बन्द गरेको बताइएको छ । रोमानियाका स्थानीय सञ्चार माध्यम र नेपाली समुदायबाट घटनाको जानकारी प्राप्त भएको र आवश्यक समन्वयका लागि पहल भइरहेको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

 

युवाको पहलमा बिर्तामोडमा प्रहरी र ट्राफिक कार्यालय पुनर्निर्माण

बिर्तामोड । जेनजी आन्दोलनका क्रममा ध्वस्त बनेको झापाको बिर्तामोडस्थित प्रहरी कार्यालय र ट्राफिक कार्यालय पुनर्निर्माण गरिएको छ ।आज इलाका प्रहरी कार्यालय, अनारमुनिमा बसेको समन्वय बैठकले भवन सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको निष्कर्ष निकालेको हो ।

बैठकले आगामी दिनमा बिर्तामोड क्षेत्रको शान्ति–सुरक्षालाई सहज बनाउन नवनिर्मित कार्यालयबाट सेवा प्रारम्भ गर्ने निर्णय समेत गरेको छ ।
अभियानका अभियन्ता सजेस शिवाकोटी, पदम श्रेष्ठ, रमेश चौधरी, विपिन बजगाईलगायत स्थानीय युवाको सक्रिय पहलमा भवन पुनर्निर्माण सम्पन्न भएको हो ।

अनुगमनका क्रममा इलाका प्रहरी कार्यालय अनारमुनिका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) विजय श्रेष्ठ, प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक गणेश पौडेललगायत सुरक्षाकर्मीको सहभागिता थियो । अनुगमनपछि डिएसपी श्रेष्ठले कार्यालय सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको बताए ।

भवन पुनर्निर्माणमा अनुमानित रु ९० लाख खर्च भइसकेको र अझै केही रकम खर्च गर्न बाँकी हुने अभियानका अभियन्ता विपिन बजगाईले बताए । उनका अनुसार स्थानीय तह, व्यापारी तथा आम नागरिकको आर्थिक–सामाजिक सहयोगले मात्र यो सम्भव भएको हो ।

मिराज ढुंगानाले प्रधामन्त्रीलाई भने–तपाईंको नियुक्ति पनि संविधानअनुसार भएको होइन

काठमाडौं । जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले केही दिनअघि प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा विशेष भेट गरेका छन्। सो भेटमा ढुंगानाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीदेखि विदेशस्थित नेपालीको मताधिकारसम्म पाँच महत्वपूर्ण एजेण्डा उठाएका थिए ।

भेटवार्तामा उनले प्रधानमन्त्री कार्कीलाई देशमा स्थायित्व र जवाफदेही नेतृत्व सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने स्पष्ट रुपमा सुझाएका थिए ।

तपाईंको नियुक्ति पनि संविधानअनुसार होइन : प्रत्यक्ष निर्वाचित कार्यकारीको माग
ढुंगानाले प्रधानमन्त्रीसँगको छलफलमा प्रमुख एजेण्डाको रूपमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको माग गरे । तर, प्रधानमन्त्री कार्कीले संविधानले अनुमति नदिने बताइन्।

जवाफमा ढुंगानाले भने, ‘तपाईंको नियुक्ति पनि त संविधानअनुसार होइन । आवश्यकताको सिद्धान्तअनुसार बन्नु भएको हो भने, प्रत्यक्ष निर्वाचित प्रणालीका लागि पनि त्यही आवश्यकताको सिद्धान्त लागू गर्न सकिन्छ ।’ उनले भने, ‘यो हाम्रो मुख्य एजेण्डा हो र हामी यसलाई लिएर नै लडिरहन्छौं ।’

जेन–जीको सरकारमा सहभागिता : प्रधानमन्त्रीको सकारात्मक संकेत
ढुंगानाले प्रधानमन्त्रीसँग जेन–जी प्रतिनिधित्वबारे पनि कुराकानी गरेका थिए । प्रधानमन्त्री कार्कीले यसमा सकारात्मक संकेत दिँदै भनिन्, ‘मन्त्री बन्ने ठाउँ अझै खाली छ । तपाईंहरूले योग्य र डेलिभरी गर्न सक्ने प्रतिनिधि ल्याउनु भयो भने सोच्न सकिन्छ ।’

भ्रष्टाचार नियन्त्रणमा फास्ट ट्रयाक प्रक्रिया
ढुंगानाले भ्रष्टाचार नियन्त्रणबारे सोध्दा, प्रधानमन्त्री कार्कीले दशैंपछि केही फाइलहरू खुलिसकेको भन्दै मुद्दा दर्ताको प्रक्रिया अगाडि बढ्ने जानकारी दिइन् ।
एनले भनिन्, ‘ढिलो होला तर कानून टेकेरै जानुपर्छ । फास्ट ट्रयाकमै काम अघि बढ्छ ।’

प्रधानमन्त्रीको आश्वासन : ‘टाइमली चुनाव हुन्छ’
ढुंगानाले आगामी संघीय निर्वाचन समयमै हुने सम्भावनाबारे पनि जिज्ञासा राखेका थिए । जसमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘९७ वस्तुमध्ये ८१ वटा निर्वाचन सामग्री भइसकेको छ । टाइमली चुनाव गरिन्छ ।’ यससँगै ढुंगानाले प्रधानमन्त्रीबाट ६ महिनाभित्र चुनाव सम्भव हुने स्पष्ट जवाफ पाएको बताए ।

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गरिनु पर्ने माग
भेटको अन्तिम एजेण्डा थियो–प्रवासी नेपालीको भोट अधिकार ।
ढुंगानाले प्रधानमन्त्रीलाई भने, ‘देशमा बेरोजगारीले गर्दा लाखौं नेपाली विदेश छन् । उनीहरूलाई राज्यले मताधिकार दिनुपर्छ । फिजिकल भोट नपाए अनलाइनमार्फत भए पनि ।’ प्रधानमन्त्रीले यसबारे केही देशहरूसँग संवाद जारी रहेको जानकारी दिइन् । उनले ढुंगानालाई भनिन्, ‘तपाईंहरू प्लानसहित आउनुहोस्, हामी काम अघि बढाउँछौं ।’

दशैंपछि फेरि भेट्ने तयारीमा ढुंगाना
ढुंगानाले प्रधानमन्त्रीसँगको छलफललाई सकारात्मक र आशालाग्दो बताउँदै भने, ‘दशैं सकिएपछि प्रधानमन्त्रीको कार्यालय खुल्ने बित्तिकै फेरि एजेण्डा लिएर जान्छु ।’

निष्कर्ष–जेन–जी आन्दोलनको उर्जालाई राजनीतिक एजेण्डामा रूपान्तरण गर्ने प्रयासस्वरूप ढुंगानाको यो भेट संविधान, लोकतन्त्र र समावेशी प्रतिनिधित्वको गहिरो बहसमा रूपान्तरण भइरहेको छ । अब प्रश्न उठ्छ–यी एजेण्डा कति कार्यान्वयनमा पुग्छन् ।?

दशैंमा वर्षेनी महङ्गो भाडाको मारमा हवाई यात्रु

काठमाडौं । दशैंमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कस्लाई पो नहोला र ! तर, दशैंको बेला हवाइजहाज चढेर घर जान्छु भन्नेका लागि भने निकै कठिन छ । अधिकांश गन्तव्यको टिकट एक महिनाअघि नै बुकिङ भइसकेको वायुसेवा निगमहरुको जवाफ हुन्छ ।
एयरलाइन्सले अनलाइनबाटै टिकट बुकिङ खुलाए पनि यस्तो बेलामा यात्रुले अनलाइनबाट टिकट पाउन मुस्किल छ । सहुलियत दरका टिकट त परैको कुरा महँगो टिकट पनि पाउन सकस छ । काठमाडौँदेखि सबैभन्दा लामो गन्तव्य धनगढीका लागि १७ हजार भन्दा बढी हवाई भाडा पर्छ । काठमाडौँ– विराटनगरमा रु नौ हजार ७०० छ ।
धनगढीकी निशा पाण्डे महंँगै भए पनि हवाई टिकटको खोजीमा निकै दिन भौतारिए । मुस्किलले महँगो दरमा हवाई टिकट पाए । उनलाई धनगढीबाट कसरी फर्किने भन्ने अर्को चिन्ता छ । बझाङका वसन्तराज जोशीलाई विगतका वर्षझै यस वर्ष पनि दशैंमा टिकट पाउन निकै सास्ती बेहोर्नुप¥यो । मोरङकी संगीता सापकोटाले विराटनगरका लागि हवाई टिकट नपाएपछि गाडीबाटै गन्तव्यतर्फ लागिन् ।
हवाई भाडा महँगो भएको गुनासो बढेपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई भाडादर सस्तो बनाउन पटक–पटक वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । दशैँमा यात्रुको चापलाई मध्यनजर गरी उडान सहजीकरण गर्न संस्कृति, पर्यटन तथा नागकि उड्डयन मन्त्रालयले, क्यानका पदाधिकारी, वायुसेवा कम्पनीका प्रतिनिधिसँग हालै छलफल पनि गरेको थियो ।
किन हरेक वर्ष दशैंमा हवाई भाडा महँगो हुन्छ भन्ने जिज्ञासामा क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुल भन्छन्, ‘अहिले सबै मानिसले हवाई भाडा महँगो भयो भनिरहेका छन् । हामीले हवाईभाडा सस्तो गर्नु निरन्तर वायुसेवा कम्पनीलाई निर्देशन दिइरहेका छौँ । सोही निर्देशन बमोजिम बुद्ध एयर, यती एयरलाइन्स, श्रीएयरलाइन्सले धनगढीका लागि उच्चतम भाडा रु १७ हजार रहेकामा रु १२ हजार ५०० सम्ममा टिकट बिक्री गरेको सिस्टममा देखाएको छ ।’
सूचना अधिकारी भूलले यो समस्या हरेक पटक दोहोरिरहेकाले हवाई भाडा प्रणालीबारे स्पष्ट हुन जरुरी रहेको उल्लेख गरे । नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ का अनुसार नेपालको हवाई यातायातमा यदी यात्रु वा कार्गोको भाडादर तोक्नुपरेमा क्यानले सिफारिस गर्ने, नेपाल सरकारले निर्धारण गर्ने र त्यो लागू भएनभएको क्यानले अनुगमन गर्ने र कार्यान्वयन नभएमा क्यानको महानिर्देशकले सम्बन्धित एयरलाइन्सलाई कारबाही गर्ने व्यवस्था छ ।
सूचना अधिकारी भूलका अनुसार प्राधिकरण ऐनअन्र्तगत बनेको दुई वटा नियमावली छन् । सेवा प्रदायक र नियामक । जसमा विमानस्थल सेवा शुल्क नियमावली २०७८ र नागरिक उड्डयन नियमावली २०५८ । नागरिक उड्डयन नियमावलीमा अन्तर्राष्ट्रिय हवाई भाडा चाहीँ जुन देशसँग हवाई सम्झौता हुन्छ त्यो सम्झौताका आधारमा निर्धारण हुन्छ । अहिले नेपालले ४२ मुलुकसँग दुईपक्षीय हवाई सेवा सम्झौता गरेको छ । अधिकतम् मुलुकसँग ‘ओपन फेयर पोलिसी’ (फ्रि प्राइसिङ) माग र आपूर्तिका आधारमा हवाई भाडा निर्धारण गरिन्छ ।
सरकारले वायुसेवा कम्पनीको लागतका आधारमा अधिकतम र न्यूनतम हवाईभाडा तोक्ने हुनाले तोकिएको भन्दा बढी भाडा एयरलाइन्सले लिन नपाउने सूचना अधिकारी भूलले बताए । उनका अनुसार आन्तरिकतर्फ दुई प्रकारले भाडा निर्धारण हुन्छ । नियमित र चार्टर्ड उडान । यी दुवै उडानको भाडादर क्यानबाट स्वीकृत हुनुपर्छ ।
उनले भने, ‘नियमित उडानमा यदी पाँच हजार ७०० केजीभन्दा सानो जहाज अर्थात् १९ सिट क्षमता भन्दा सानो जहाज छभने ‘सिङ्गल फेयर सिस्टम’ हुन्छ ।’ उदाहरणका रुपमा काठमाडौँबाट लुक्ला उड्ने ट्वीनअटर जहाजको भाडादर एउटै हुन्छ । तर, १९ सिट क्षमताभन्दा माथिका एटीआर जहाजमा सरकारले वायुसेवा कम्पनीको लागतका आधारमा न्यूनतम र अधिकतम भाडादर तोक्ने र एयरलाइन्सले न्यूनतम, अधिकतमको भाडा निर्धारण गर्न पाउँछन् ।
हाल विराटनगरको हवाई भाडा रु पाँच हजार १०० बाट नौ हजार ७०० कायम छ । एयरलाइन्सले पाँच हजार १०० देखि नौ हजार ७०० सम्मका प्रत्येक टिकट बिक्री गर्न पाउँछ । तर, पाँच हजार एकसय भन्दा कम र नौ हजार ७०० भन्दा बढी लिएमा गैरकानुनी हुन्छ । उनले काठमाडौँबाट विराटनगरको भाडादर निर्धारण वायुसेवा कम्पनीको लागतदरका आधारमा हुने जानकारी दिए ।
सरकारले विसं २०७३ मा निर्धारण गरेको हवाईभाडा नै हालसम्म कायम छ । लागतदरमा हवाई इन्धनको मूल्य, जहाजको प्रकृतिको आधार, यात्रुसेवा शुल्क र १३ प्रतिशत कर यी चार कुराको आधारमा हवाई भाडा निर्धारण हुने क्यानले उल्लेख गरेको छ । पहिला साना जहाजको आधारमा भाडा निर्धारण गरिएको थियो ।
अहिले बजारमा एटीआर–७२ र सिआजे जहाज सञ्चालन भइरहेको छ यसले पनि हवाईभाडा बढेको बताइन्छ । नेपालमा हाल दक्षिण एसियाकै महँगो हवाई इन्धन रहेको अधिकारीहरु बताउँछन् । एयरलाइन्सले हवाई इन्धन, विमानस्थल शुल्क र १३ प्रतिशत करका कारण भाडा महङ्गो भएको जनाउँदै आएका छन् । राज्यका तर्फबाट इन्धन, विमानस्थल शूल्क र करमा सहुलियत दिएमा मात्रै भाडा घटाउन सकिने विमान सेवा कम्पनीहरु बताउँछन् ।
कसरी बढ्छ हवाई भाडा ?
यसै पनि काठमाडौँबाट एकतर्फी खाली सिट जहाज चलाउनुपर्ने भएकाले सञ्चालन खर्च व्यवस्थापनका लागि भाडा महँगो हुने विमान सञ्चालक कम्पनीहरु बताउँछन् ।  रुस र युक्रेनको युद्धले जहाजका पार्टपुर्जा महँगो भएको छ । हवाई इन्धनको मूल्य चुलिएको छ । यिनैलगायत कारण हवाई भाडा महँगो भएको कम्पनीहरुको भनाइ छ । सरकारी स्वामित्वको नेपाल वायुसेवाको आन्तरिक बजारमा उपस्थिति कमजोर छ । करिब ९० प्रतिशत आन्तरिक हिस्सा निजी वायुसेवा कम्पनीको छ ।
‘प्रत्येक वर्षको दुई महिना यस्तो समस्या आउँछ । सुगम गन्तव्यमा उड्ने जहाज ३० वटा छन् । दुर्गममा उड्ने जहाज १० वटा छन् । सिट क्षमता निश्चित छ । दैनिक १० हजार यात्रु उड्छन् । अहिले आन्तरिकमा वार्षिक ४५ लाख र अन्तर्राष्ट्रियमा ५० लाख यात्रुले हवाई यात्र गर्छन् । अब, दुई महिनाका लागि मात्रै जहाज थप्ने कुरा भएन । यसकारण उडान चापले हवाई भाडा सस्तो गराउन समस्या हुन्छ’, क्यानका सूचना अधिकारी भूल बताउँछन् ।
उनले कानुनी रुपमा पनि एयरलाइन्सलाई कम मूल्यमा हवाई टिकट बिक्री गराउन नसकिएको उल्लेख गरे । हवाई भाडादर कम गर्न कि एकल भाडादरमा जानुपर्छ कि, इन्धनमा सहुलियत र करमा छुट दिनुपर्छ । तब मात्रै समस्याको समाधान हुने उनी बताउँछन् । नभए एयरलाइन्सलाई भाडा कम गर भनेर मात्रै विमान कम्पनी सञ्चालन गर्न समस्या हुने उनको जिकिर छ ।
वायुयान कोष सञ्चालन गरेर दशैलगायत चाडपर्वको अवसरमा सम्बन्धित एयरलाईन्सलाई सहयोग गर्ने गरेको खण्डमा भाडादर सस्तो हुने उनको भनाइ छ । नीतिगत सुधार गरेर वायुसेवा कम्पनी र यात्रु दुवै मर्कामा नपर्नेगरी हवाई भाडा समायोजन गर्नुपर्ने देखिन्छ । वायुसेवा सेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले दसैँमा हवाई कम्पनीले तोकिएको उच्चतम भाडादर भन्दा बढी भाडा नलिएको बताउँछन् ।
काठमाडौँबाट बाहिरका जिल्ला जाने यात्रुको अत्यधिक चाप रहेको र फर्किने यात्रु नभएकाले भाडा केही महंँगो भएको उनले बताए । वायु सेवा प्रदायक कम्पनीले दसैँ आउन एक महिनाअघि नै हवाई जहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा महङ्गो भाडा असुल्ने गरेको गुनासो सुनिन्छ ।
दशै‌का कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडानमा चाप रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार घटस्थापनाको दिनदेखि आन्तरिक विजयादशमीसम्म उडानमा चाप छ । आन्तरिकमा एकतर्फी दैनिक एकसय ६० हाराहारी उडान भइरहेका छन् । अन्तर्राष्ट्रियमा दैनिक एक सय २० हाराहारी उडान भइरहेका छन् ।
निजी क्षेत्रका बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सले तोकिएको भन्दा बढी भाडादर नलिएको दाबी गरेका छन् । दशैँमा यात्रुको चाप रहेकाले केही गन्तव्यमा हवाई टिकट पाउन समस्या रहेको उनीहरुको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ गरी दैनिक ३५० हाराहारी उडान हुने गरेकामा हाल दैनिक ४५० भन्दा बढी उडान भइरहेका छन् । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । –सिबी अधिकारी / रासस

चीनको पानी नियन्त्रण योजनाविरुद्ध भारतको मेगा–बाँध योजना

भारत । कुहिरोले ढाकिएका हिमालपाखामा भारतले प्रस्ताव गरेको मेगा–बाँध परियोजनाले चीनसँगको पानी प्रतिस्पर्धामा नयाँ अध्याय थपेको छ । तिब्बतको माथिल्लो भागमा चीनले बनाइरहेको कीर्तिमानी जलविद्युत् परियोजनाको सम्भावित जोखिम रोक्न भारतले बाँध निर्माण गर्न लागेको हो । तर बाँध निर्माणको सम्भावित साइटमा रहेका आदिवासीहरूका लागि भने यो परियोजना विनाशको संकेत बनेको छ ।
‘हामी अन्तिम समयसम्म लड्नेछौँ’, विषमा डुबाइएको बाणसहित धनुष उठाउँदै रिउ गाउँका बासिन्दा तापिर जामोहले भने, ‘हामी यो बाँध बन्न दिने छैनौँ ।’ भारतको उत्तरी कुनामा रहेको रिउ क्षेत्र तिब्बत र म्यान्मासँग जोडिएको छ । प्रस्तावित योजनाअनुसार अरुणाचल प्रदेशमा २८० मिटर अग्लो बाँध निर्माण गरी ४० लाख ओलम्पिक आकारका पौडी पोखरी बराबरको विशाल जलाशय बनाउन सकिनेछ ।
यसबीच चीनले सियाङ (तिब्बतमा यार्लुङ साङ्पो) नदीमा एक खर्ब ६७ अर्ब डलरको याक्सिया परियोजना अघि बढाइरहेको छ । यसमा पाँच जलविद्युत् स्टेशन रहनेछन् जसले विश्वकै सबैभन्दा ठूलो थ्री गोर्जेस बाँधभन्दा तीन गुणा बढी विद्युत् उत्पादन गर्ने अनुमान गरिएको छ । बेइजिङले यसले तल्लो क्षेत्रमा कुनै नकारात्मक असर नपार्ने दाबी गरे पनि भारतमा चिन्ताको लहर छ ।
चीनले बाँधलाई हतियारको रूपमा प्रयोग गरी तल्लो क्षेत्रमा खडेरी वा ‘पानी बम’ जस्तै बाढी ल्याउन सक्छ भन्ने डर भारतलाई छ । चीनले भने यसलाई आधारहीन प्रचार भन्दै खारेज गरेको छ । अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खान्डुले चीनको परियोजनाविरुद्ध सुरक्षात्मक कदम आवश्यक रहेको बताए ।
भारतले बनाउन लागेको बाँधले ११ हजार दुई सयदेखि ११ हजार छ सय मेगावाट जलविद्युत् उत्पादन गर्नेछ । यसले देशको सबैभन्दा शक्तिशाली बाँधका रूपमा मान्यता पाउनेछ । तर भारतीय अधिकारीहरूको भनाइमा यसको मुख्य उद्देश्य बिजुली उत्पादनभन्दा पनि पानी नियन्त्रण र सुरक्षा हो ।
यस योजनाले भारी वर्षामा अतिरिक्त पानी अवशोषित गर्ने र चीनले अचानक पानी छोडेमा जोखिम कम गर्ने उद्देश्य राखेको छ । भारतका पूर्व राजदूत अशोक के. कान्थाले चीनको योजनालाई ‘लापरवाह’ भन्दै भारतको बाँधलाई ‘रक्षात्मक उपाय’ का रूपमा चित्रण गरे ।
यस परियोजनाले स्थानीय आदिवासीहरूको जीवन र संस्कृतिलाई ठूलो चुनौती दिएको छ । सियाङ नदीलाई पवित्र मान्ने आदि समुदायका बासिन्दाले आफ्नो अस्तित्व नै खतरा भएको महसुस गरेका छन् । ‘यदि नदीमा बाँध बनाइयो भने हाम्रो अस्तित्व समाप्त हुनेछ’, ६९ वर्षीय जामोहले भने, ‘हामी सियाङका सन्तान हौँ ।’
मे महिनामा आदिवासीहरूले परियोजनाको सर्वेक्षण रोक्न विरोध गर्दा सरकारी मेसिनरी जलाइएका थिए । अहिले पनि गाउँहरूमा आन्दोलन जारी छ । हजारौँ आदिवासीले परम्परागत अदालत शैलीको बैठकमा भेला भई परियोजनाविरुद्ध आवाज उठाइरहेका छन् । ‘यदि उनीहरूले यो ठूलो बाँध बनाए भने आदि समुदाय विश्वको नक्साबाटै हराउनेछ’, यिङकिओङका स्थानीय लिकेङ लिबाङले भने, ‘हामी पूर्ण रूपमा विस्थापित हुनेछौँ ।’
विशेषज्ञहरूले यो परियोजना भूकम्प जोखिमयुक्त क्षेत्रमा भएकाले थप खतरा निम्त्याउने चेतावनी दिएका छन् । तर भारतको बाँध निर्माण अभियानलाई रोक्ने सम्भावना न्यून छ । जामोहल भने, ‘यदि यो बाँध बन्ने नै हो भने, त्यस दिन आउनुअघि नै मेरो मृत्यु होस् भन्ने मेरो कामना छ।’ रासस / एएफपी

इन्डोनेसियामा विद्यालय भवन ढल्दा गयो दर्जनौको ज्यान

इन्डोनेसिया । इन्डोनेसियाको विद्यालय भवन ढलेर अस्थिर कंक्रिटको भग्नावशेषमा फसेका विद्यार्थीहरूलाई उद्धारकर्ताहरूले अक्सिजन र पानी उपलब्ध गराउँदै आएका छन् ।
मङ्गलबार बिहानसम्म १२ घण्टाभन्दा बढी समय बितिसक्दा पनि बाँचेका मानिसहरूलाई मुक्त गर्न उनीहरू निरन्तर प्रयासरत छन् । कम्तीमा एक जना विद्यार्थीको निधन भएको पुष्टि भएको छ भने, दर्जनौँ घाइते हुनुका साथै करिब ६५ जना भग्नावशेषमा पुरिएको अनुमान गरिएको छ ।
पूर्वी जाभाको सिडोआरजोस्थित अल खोजिनी इस्लामिक बोर्डिङ स्कुलमा भएको दुर्घटनापछि उद्धारकर्मी, प्रहरी र सैनिकहरूले रातभरि उत्खनन गरी आठ जना कमजोर र घाइते विद्यार्थीलाई बाहिर निकाल्न सफल भएका थिए । तर भग्नावशेषभित्र थप शव देखिएकाले मृतकको संख्या बढ्ने आशंका गरिएको छ ।
भग्नावशेष हल्लिएर अर्को दुर्घटना हुने जोखिम देखिएपछि मङ्गलबार बिहान १०ः१५ बजे उद्धार कार्य अस्थायी रूपमा रोक्नुपरेको थियो । घटनास्थलमा रहेका दर्जनौँ एम्बुलेन्स र उद्धार टोलीहरूले सुरक्षाको कारण सबैलाई तत्काल क्षेत्र खाली गर्न आग्रह गरेपछि उपस्थितहरू आतंकित हुँदै भागेका थिए ।
विद्यार्थीहरूका परिवारजनहरू अस्पताल तथा ध्वस्त भवन वरिपरि भेला भई आफ्ना प्रियजनको खबरको प्रतीक्षामा बसिरहेका छन् । धुलोले ढाकिएका घाइते विद्यार्थीहरूलाई बाहिर निकालिँदा आफन्तहरूले विलाप गरेको दृश्य हृदयविदारक बनेको छ । विद्यालय परिसरमा राखिएको सूचना बोर्डअनुसार मङ्गलबार बिहानसम्म ६५ जना विद्यार्थी बेपत्ता रहेको र उनीहरू प्रायः १२ देखि १७ वर्ष उमेरका भएको उल्लेख गरिएको छ।
‘हे भगवान… मेरो छोरो अझै भग्नावशेषमुनि छ, कृपया मद्दत गर्नुहोस् !’ भन्दै एक आमाले आँशु झारिरहेकी थिइन् । त्यस्तै एक बुबाले उद्धारकर्ताको हात समात्दै ‘कृपया, सर, मेरो छोरालाई तुरुन्तै खोजिदिनुहोस्’ भनेर विन्ती गरिन् ।
उद्धार प्रयासको नेतृत्व गरिरहेका अधिकारी नानङ सिगितका अनुसार कंक्रिटका भारी स्ल्याब र अस्थिर भागहरूले खोजीमा कठिनाइ बढाएको छ  भारी उपकरण प्रयोग गर्दा थप दुर्घटना हुने जोखिम भएकाले प्रयोग नगरेको उनले बताए । ‘हामी अझै पनि फसेकाहरूलाई अक्सिजन र पानी प्रवाह गरिरहेका छौँ, बाँचेका व्यक्तिहरूलाई जीवित राख्दै बाहिर निकाल्न केन्द्रित भएका छौँ’, उनले भने ।
सयौं उद्धारकर्मीहरू सास फेर्न सहयोग गर्ने उपकरण, निकासी तथा स्वास्थ्य उपचार सामग्रीसहित खटिएका छन् । विद्यार्थीहरू दिउँसो प्रार्थना गरिरहेको बेला दुर्घटना भएको हो । प्रान्तीय प्रहरी प्रवक्ता जुल्स अब्राहम अबास्टका अनुसार दुर्घटनाग्रस्त भवन एक अनधिकृत विस्तार गरिएको संरचना थियो ।
उद्धारपश्चात घाइते विद्यार्थीहरूलाई नजिकैका बासिन्दा, शिक्षक तथा प्रशासकहरूले प्राथमिक उपचारमा सहयोग गरेका थिए । धेरैलाई टाउकोमा चोट लागेको तथा हड्डी भाँचिएको अवस्था थियो । महिला विद्यार्थीहरू भने भवनको अर्को भागमा प्रार्थना गरिरहेकाले भाग्न सफल भएको बताइएको छ ।
अधिकारीहरूका अनुसार १३ वर्षे एक विद्यार्थीको मृत्यु भएको छ भने अन्य १०२ जना विद्यार्थी घाइते भई अस्पताल लगिएको छ । तीमध्ये केहीको अवस्था गम्भीर रहेको छ । प्रारम्भिक अनुसन्धानअनुसार दुई तले पुरानो भवनलाई अनुमति बिना थप दुई तला बनाइएको थियो । ‘पुरानो भवनको जगले कंक्रिटका थप तला थेग्न नसकेर ढलेको देखिन्छ’, अबास्टले भने । रासस / एपी

रामेछाप–लुक्ला हवाई उडान शुरू

रामेछाप । रामेछाप–लुक्ला हवाई उडान शुरू भएको छ । शरद ऋतुमा सगरमाथा आरोहण र आधार शिविर जाने पर्यटकहरूका लागि लक्षित हवाई उडान शुरू गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विभिन्न कम्पनीहरूले काठमाडौंबाट सडकमार्ग हुँदै मन्थलीसम्म पर्यटक ल्याउने र यहाँबाट हवाई उडानमार्फत लुक्ला लैजाने गरेका छन् । विमानस्थलबाट सीता, तारा र समिटलगायतका कम्पनीले सेवा दिँदै आएका छन् ।

मौसम अनुकूल भएको समयमा दैनिक ५० देखि ६५ वटासम्म उडान भइरहेको नागरिक उड्डयन प्राधिकरण रामेछापका सूचना अधिकारी प्रज्वल गुरागाईँले जानकारी दिए ।

प्रचण्ड परिवारसहित सिन्धुपाल्चोकमा

सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो वर्षको दशैं मनाउनको लागि सिन्धुपाल्चोक पुगेका छन् ।

राजधानी बाहिर दशैं मनाउने प्रचण्डको चाहना अनुरूप मंगलबार प्रचण्डसहित सपरिवार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरुवारीमा रहेको बागमती प्रदेशका पूर्व मन्त्री एवम् प्रदेश सभा सदस्य युवराज दुलालको घरमा आएका हुन् ।

दशैं मनाउन प्रचण्ड छोरी रेणु दाहाल, गंगा दाहाल र ज्वाईहरूसहित आएका हुन् । प्रचण्डसहितको परिवार दुलालको घरमा दशैंभर रहने जनाइएको छ । दशैं मान्न आएको बताइए पनि प्रचण्ड सिन्धुपाल्चोक आउनु राजनीतिक दृष्टिकोणबाट केही महत्वपूर्ण रहेको जानकारहरूले बताएका छन् ।

तनहुँ कारागारका १४० कैदीबन्दी अझै फरार

तनहुँ । तनहुँ कारागारमा अझै १४० कैदबन्दी फरार रहेका छन् । फरार हुँदा स्थानीय समुदायमा ठूलो भय र असुरक्षा फैलिएको छ । चोरी, लुटपाट तथा हिंसाको त्रास फैलिएको छ ।

जिल्ला प्रहरी कार्यालयले हालसम्म १८७ कैदीबन्दी नियन्त्रणमा लिइसकिएको भए पनि बाँकी फरार कैदीबन्दीले समाजमा असुरक्षा बढाएका छन् । कारागारमा रहेका ३२७ मध्ये हालसम्म १८७ कैदीबन्दीलाई मात्र नियन्त्रणमा लिन सकिएको छ भने बाँकी फरार रहेका जेलर टेकप्रसाद भट्टराईले जानकारी दिए ।

कार्यालयले फरार कैदीबन्दीलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते साँझ कारागारबाट भागेका वा भगाइएका कैदीबन्दीलाई असोज २० गते सोमबारसम्म जिल्ला कारागार कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरिएको छ ।

फरार कैदीबन्दी खोजी तथा पक्राउ कार्यदल, तनहुँले आइतबार सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘निर्धारित मितिसम्म सम्पर्कमा नआए कारागार ऐन, २०७९ तथा प्रचलित कानुनबमोजिम कडा कारबाही हुनेछ ।’ साथै फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई पनि कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।

कारागार प्रशासनले फरार कैदीहरूको अवस्थाबारे जानकारी हुने परिवार, समुदाय, नागरिक समाज, पत्रकार तथा व्यवसायीलाई खोजी कार्यमा सहयोग गर्न आग्रह गर्दै जानकारी दिने व्यक्तिको पहिचान गोप्य राखिने उल्लेख गरेको छ । फरार कैदीबन्दीबारे जानकारी भएमा सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल मनकामना गण नं २३ भानु तथा कारागार कार्यालयका सम्बन्धित पदाधिकारीलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।

यसका लागि कारागारले सहायक प्रमुख जिल्ला अधिकारीलाई ९८५६००११११, जिल्ला प्रहरी कार्यालयलाई ९८५६०९०२९८, ९८५६०९०१७८ वा ०६५–५६३१९९, सशस्त्र प्रहरी बल मनकामना गण नं २३ भानुलाई ९८५१२७२०९९, सशस्त्र प्रहरी निरीक्षक वसन्त जिसीलाई ९८५६०६५७४० र कारागार प्रशासकलाई ९८५६०८४७७७ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

साढे पाँच लाखले छाडे उपत्यका, सुनसान बन्दै सडक

काठमाडौं । दसैंको चहलपहल सुरु भएसँगै साढे पाँच लाखले संघीय राजधानी काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।
काठमाडौँ छाड्ने यात्रुको चाप बढेसँगै सवारी नाका र पार्किङस्थलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले भने, ‘यात्रुको सहजता र सुरक्षाका लागि हेल्प डेस्क, सवारी अनुगमन टोली र आपतकालीन उद्धार टोली पनि सक्रिय छन् । ट्राफिक प्रहरी २४ घण्टा सडकमा खटिएको छ ।’ साथै दसैँको अवधिमा काठमाडौँ उपत्यकामा ७२ हजार ४१ सवारी साधनबाट दुई लाख ८५ हजार ३०८ जना भित्रिएका छन् ।
घट्दै काठमाडौं उपत्यकाको चहलपहल
राजधानीमा रहेका धेरै सर्वसाधारण दसैँ मनाउन आफ्नो स्थायी ठेगानामा गएको तथा यहाँका स्थानीय पनि घरबाहिर ननिस्कँदा काठमाडौँ उपत्यकामा चहलपहल कम देखिएको छ ।
फूलपातीको दिनसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो । तर महाअष्टमीबाट भने सुनसान हुँदै गएको हो ।  उपत्यकाका सडकमा सवारी साधन न्यून चलेका छन् ।
ट्राफिक प्रहरीका अनुसार यस वर्षको दसैँमा फूलपातीका दिन सबैभन्दा बढी यात्रुले राजधानी छाडेका छन् । सो दिन मात्रै करिब डेढ लाख यात्रु उपत्यकाबाट बाहिरिएका थिए । काठमाडौँमा बडादसैँको टिकाको दिनदेखि भने फेरि चहलपहल बढ्ने गरेको छ ।

धरान कृषि बजार : किसानको आशाको ढोका

संगीता राई  / रासस
सुनसरी । संखुवासभाका किसान मनोज राईलाई अझै सम्झना छ, त्यो बेलाको पीडा । गाउँमा मिहिनेत गरेर उत्पादन गरेका फलफूल पाकेर सड्थे, तरकारी खेर जान्थे । बजार नै थिएन ।
‘हिजो हामी उत्पादन गरेर गोडेर फ्याल्नुपर्ने अवस्था थियो’, उनी सुनाउँछन् । पाकेका फलफूल सडेर जान्थे, तरकारी हुन्थ्यो, बेच्न बजारसम्मको पहुँच थिएन । तर आज, मनोजका लागि त्यो अवस्था दिन छैन । २०५३ सालमा धरान उपमहानगरपालिका–१३ मा स्थापना भएको धरान कृषि उपज बजारले उनी जस्तै हजारौँ पहाडी किसानको जीवनमा नयाँ आशा जगाएको छ । ‘अहिले धरानको कृषि बजारले हाम्रो पसिनालाई मूल्य दिएको छ’, मनोज भन्छन्, ‘मेहनतको कदर भएको महसुस भएको छ ।’
पहिले गाउँमा उत्पादन भएर खेर गएका बालीहरू अब यही बजारमार्फत नेपालका विभिन्न सहरदेखि भारतका बजारसम्म पुग्न थालेका छन् । बजार पाउने बित्तिकै किसानमा आत्मविश्वास बढेको छ, लगानी बढेको र स्थानीय अर्थतन्त्रमा पनि कृषि व्यापारले गति लिएको व्यवसायीहरू बताउँछन् ।
सडक सञ्जाल विस्तारसँगै गाउँमा उत्पादन भएको फलफूल र तरकारी अहिले सिधै गाडीमा लोड गरेर धरान ल्याइन्छ । ‘पहिले सडक सञ्जाल नहुँदा यातायात सुविधा थिएन’, मनोज भन्छन्, ‘अहिले गाउँगाउँमा सडक सुविधा पुगेको छ । अब बजारमा सिधै व्यापारीसँग सम्पर्क हुन्छ, मूल्य राम्रै पाइन्छ, पैसा ढिलो आउला भन्ने चिन्ता पनि हुँदैन ।’
पाँचथरका किसान विनोद मगरको पनि उस्तै अनुभव छ । ‘पहिला उत्पादन बेच्न पहाडबाट तराईसम्म ओर्लनै हम्मे थियो’, उनी सुनाउँछन्, ‘लामो दूरी, सस्तो मूल्य र बिचौलियाको भरमा उत्पादन सस्तोमा बेचेको धेरै पटकको पीडा छ ।’ तर, अब धरान कृषि बजारले सजिलो बनाइदिएको छ । बिचौलियाको झन्झट छैन, मूल्य पहिल्यै थाहा हुन्छ । अहिले गाउँका युवाहरू विदेश तिर होइन, खेतीतर्फ फर्किन थालेको उनको भनाइ छ ।
किसानको भरपर्दो केन्द्र
धरान कृषि उपज बजार अहिले किसानका लागि भरपर्दो बजारको रूपमा स्थापित भएको छ । बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार यहाँ विशेषगरी भोजपुर, संखुवासभा, पाँचथर, तेह्रथुम, इलाम, धनकुटा, खोटाङ् उदयपुरलगायत तराई जिल्लाबाट दैनिक सयौँ क्विन्टल कृषि उत्पादन, तरकारी र फलफूल ल्याइन्छ ।
यसले किसानलाई सिधा पहुँच, उचित मूल्य र समयमै भुक्तानी सुनिश्चित गरेको अध्यक्ष भट्टराई बताउँछन् । बिचौलियाको झन्झट हटाएर किसान र व्यापारीबीच सिधा सम्पर्क हुने वातावरण तयार गरिएको छ । बजारमा स्थापित चिस्यान भण्डारण केन्द्र र विषादी परीक्षण प्रयोगशालाले गुणस्तरीय उत्पादन प्रवाहमा सहयोग पु¥याएको छ ।
शीतगृह : किसानलाई ठूलो राहत
कृषि बजारमा निर्माण गरिएको शीतगृह किसानका लागि ठूलो राहत बनेको छ । बिक्री नभएर आफ्ना उत्पादन खेर फाल्न बाध्य किसानले अब भण्डारणका लागि शीतगृह प्रयोग गर्न सक्ने भएका छन् । कोशी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २०७६÷७७ मा बाली विशेष भण्डार गृह निर्माण कार्यक्रमअन्तर्गत उपलब्ध गराएको रु ४९ लाख ८३ हजार ३०० र कृषि बजार व्यवस्थापन समितिको रु २६ लाख ९७ हजार आठ सय ४० गरी कुल रु. ७६ लाख ८१ हजार १४० लागतमा पहिलो शीतगृह निर्माण गरिएको थियो ।
किसान र व्यापारीलाई सहज भएपछि २०७७/७८ मा पुनः कोशी प्रदेश सरकारले रु ५० लाख उपलब्ध गराएको थियो । त्यसमा कृषि बजार समितिले रु १७ लाख थप गरेर कुल रु ६७ लाख लागतमा अर्को शीतगृहसमेत निर्माण गरिएको छ । हाल शीतगृहमा छ च्याम्बर छन् । एउटा च्याम्बरमा २५ टनदेखि ३० टनसम्म भण्डारण गर्न सकिन्छ । छ च्याम्बरमध्ये २५ टन क्षमताको एउटा च्याम्बर किसानका लागि आरक्षणका रूपमा छुट्याइएको अध्यक्ष भट्टराईले जानकारी दिए ।
करोडौंको कारोबार, तर यस वर्ष सुस्त व्यापार
धरान कृषि बजारले अहिले पूर्वी नेपालका पहाडी जिल्लाहरूका लागि भरपर्दो आर्थिक मूलधारमा जोडिने माध्यम बनेको छ । यसले उत्पादन, भण्डारण, वितरण र मूल्य निर्धारणको पारदर्शी प्रणालीमार्फत कृषकलाई न्यायोचित स्थान समेत दिएको छ । अध्यक्ष भट्टराईका अनुसार आर्थिक वर्ष २०८१/८२ मा एक लाख ५० हजार मेट्रिक टन कृषि उपज बिक्री हुँदा रु ६ अर्ब ८१ लाख बराबरको कारोबार भएको छ । यसमा हरियो तरकारी ८२ हजार ५२२ मेट्रिक टन, फलफूल २९ हजार ८०७ मेट्रिक टन, मसला २१ हजार ६२७ मेट्रिक टन, दलहन चार हजार ५५१ मेट्रिक टन, खसीबोका ७१९ र अन्य कृषि उपज नौ हजार १३० मेट्रिक टन रहेको थियो ।
यस्तो व्यापक कारोबारले बजारलाई मात्र होइन, किसानको जीवनशैली र आयआर्जनमा पनि सकारात्मक प्रभाव पारेको देखिन्छ । तर, यस वर्ष भने व्यापार अघिल्ला वर्षहरूको तुलनामा कम भएको २०५८ सालदेखि कृषि बजारमा व्यापार गर्दै आएका व्यापारी रमेशकुमार शाहले बताए । ‘सागसब्जी र तरकारीहरूको खपत घटेको छ, मूल्य पनि घटेको छ’, उनी भन्छन्, ‘गत वर्ष यही समय प्याज प्रतिकिलो रु ७० मा बिक्थ्यो, अहिले भने रु ३८–४० मा मात्र बिक्री भइरहेको छ ।’
अघिल्ला वर्षमा चाडपर्वको समयमा बजारमा उपभोक्ताको अत्यधिक चाप देखिन्थ्यो, तर यस वर्ष मान्छेको भीड कम देखिएको उनले बताए । ‘दैनिक उपभोग्य वस्तुको स्थायी मागका कारण बजारबाट वार्षिक करिब रु एक करोडदेखि एक करोड ५० लाखसम्मको कारोबार हुने गरेको छ’, शाह भन्छन्, ‘विगतमा राम्रो व्यापारका लागि चाडपर्व कुर्नु पर्दैनथ्यो, अहिले दसैँ लाग्दा पनि व्यापार सुस्त छ ।’ व्यापार घट्नुको मुख्य कारण २०७७/७८ को कोरोना महामारी भएपछि अधिकांश व्यापारी गाउँ फर्किएको र धेरैले व्यापार नै छाडेको उनी बताउँछन् ।
क्षेत्रीय व्यापारको मेरुदण्ड
सुनसरी उद्योग वाणिज्य संघका महासचिव प्रभाव खतिवडाका अनुसार धरान कृषि उपज बजारले केवल किसानलाई मात्र नभएर सम्पूर्ण क्षेत्रीय व्यापारलाई नयाँ उचाइमा पुर्‍याएको बताउँछन् । ‘धरान कृषि बजारले कृषक र व्यापारीबीचको सिधा सम्बन्ध जोडेर व्यापारको पारदर्शिता बढाएको छ’, महासचिव खतिवडा भन्छन्, ‘उत्पादनको गुणस्तर, मूल्य पारदर्शिता, समयमा नै भुक्तानी र पूर्वाधारको विकासले गर्दा यो बजार अहिले पूर्वी नेपालको कृषि व्यापारको केन्द्र बन्दै गएको छ ।’
कृषि बजारबाट बार्षिक रूपमा ठूलो मात्रामा कृषि उपजको कारोबार हुनु र त्यसबाट किसान तथा व्यवसायी दुवै लाभान्वित हुनु क्षेत्रको आर्थिक सम्भावना व्यापक छ भन्ने प्रमाण रहेको खतिवडा बताउँछन् । ‘यो बजारले उत्पादन, मूल्य निर्धारण र आपूर्तिको सञ्जाललाई व्यवस्थित बनाउँदै व्यावसायिक क्षेत्रलाई समेत गतिशील बनाएको छ’, उनी भन्छन्, ‘हामी कृषि बजारलाई व्यापार विस्तारको मेरुदण्डका रूपमा हेर्छौं ।’
कृषि बजारबाट सिर्जना भएको आर्थिक चक्रले क्षेत्रीय उद्योग, यातायात, होलसेल, खुद्रा व्यवसाय तथा रोजगारीमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पारेको छ । पूर्वी पहाडदेखि तराई क्षेत्रका व्यापारीहरू, ढुवानी सेवा प्रदायक र कृषि क्षेत्रसँग सम्बन्धित व्यवसायीहरू यस बजारको विस्तारबाट लाभान्वित भएको महासचिव खतिवडाको भनाइ छ ।
जेनजी आन्दोलनको असर
गत भदौ महिनाको जेनजी आन्दोलनले धरानलगायत विभिन्न सहरी क्षेत्रका व्यापारिक संरचनामा ठूलो असर पुर्‍यायो । सयौँ व्यापारिक केन्द्रहरूमा आगजनी भयो, सम्पत्ति नष्ट भयो, व्यवसाय ठप्प भयो । उद्योग वाणिज्य संघले तत्काल व्यापारीसँग सम्पर्क गरी क्षति मूल्याङ्कन, राहत र व्यवसाय पुनःसञ्चालनका लागि पहल गरेको खतिवडा बताउँछन् । कालाबजारी नियन्त्रण, बजार स्थायित्व, मूल्य पारदर्शिता र व्यावसायिक सुरक्षालाई प्राथमिकतामा राखेर संघले सहकार्य गरिरहेको छ ।
‘व्यापारीलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ’, उनी भन्छन्, ‘हामी नीतिनिर्माणदेखि सहुलियत ऋण, बीमा र संरचनागत विकासमा समेत काम गरिरहेका छौँ ।’ पछिल्लो समय बजारमा देखिएका समस्या जस्तै मूल्य अस्थिरता, आपूर्ति अवरोध, करको दबाब, सुरक्षा चुनौती आदि विषयमा संघले सरोकारवाला निकायहरूसँग नियमित रूपमा संवाद, छलफल र दबाबमार्फत व्यवसायीको पक्षलाई मजबुत बनाउँदै आएको उनको भनाइ छ ।
‘आगामी वर्षहरूलाई सुधार, विस्तार र प्रविधिमैत्री व्यापार प्रणाली निर्माणको अवसरका रूपमा हेरेका छौँ’, महासचिव खतिवडा भन्छन्, ‘कृषिमा आधारित उद्योग, डिजिटल कारोबार, निर्यातयोग्य वस्तुहरूको उत्पादन, लगानीमैत्री वातावरण, युवा उद्यमशीलता, महिला सहभागिता जस्ता क्षेत्रमा ठूलो सम्भावना छ ।’
उत्पादन घट्दो, आयात बढ्दो
धरान कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष काजी गिरिका अनुसार देशको समग्र परिस्थितिको असर बजारमा पनि परेको छ । अहिले मागअनुसार उत्पादन नहुनाले हामीलाई भारतलगायत छिमेकी मुलुकबाट सामान आयात गर्नुपर्ने अवस्था आएको उनी बताउँछन् । बजार चलायमान राख्न आयात विकल्प बनिरहेको छ, तर दिगो समाधान भनेको स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने उनको तर्क छ ।
कृषि बजारमा पहाडी क्षेत्रका साथै भारत, चीन, बङ्लादेश, भूटान र तराईका विभिन्न ठाउँबाट उपभोग्य वस्तु आउने गरेको छ । पहाडी भेगबाट अहिलेको ‘सिजन’मा हरियो सागसब्जी आउने गरेको छ । भारतबाट आलु, प्याज र फलफूल, बङ्लादेश तथा भूटानबाट आलु, चीनबाट च्याउ र लसुन धेरैजसो आउने गरेको छ । तर पनि धरान कृषि उपज बजारले विगत तीन दशकभन्दा बढी समयदेखि पहाडी किसानहरूलाई भरपर्दो बजार उपलब्ध गराउँदै आएको छ । यसले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पुर्‍याउने सञ्जालको निर्माण गरेको छ ।
पछिल्ला वर्षहरूमा देखिएको उत्पादन घट्ने प्रवृत्ति, सामाजिक अस्थिरता, तथा नीति र संरचनागत चुनौतीका कारण बजारमा केही अवरोध देखिएको छ । यस्ता चुनौतीहरू समाधान गर्न अब किसान, व्यापारी र नीतिनिर्माताबीच प्रभावकारी समन्वय आवश्यक देखिन्छ । यदि उत्पादन वृद्धि, गुणस्तर सुधार र आपूर्ति प्रणालीलाई सुदृढ गर्न सकियो भने धरान कृषि उपज बजार पूर्वी नेपालकै नमूना कृषि व्यापार केन्द्रका रूपमा लिन सकिन्छ ।

मेयर साम्पाङको आरोप : ७४ जनालाई बलि चढाएर विदेशी दलालले बनाएको सरकार कता हरायो ?

काठमाडौं । धरान उपमहानगरपलिकाका मेयर हर्क साम्पाङले वर्तमान अन्तरिम सरकारप्रति गम्भिर आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दैै उनले विदेशीले बनाएको सरकार कता हरायो ? भन्दै प्रश्न गरेका हुन् ।

फेसबुकमा उनले लेखेका छन्, ‘७४ जनालाई बलिचढाएर विदेशी दलालले बनाएको सरकार कता हरायो ?’ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७४ जना नेपालीले ज्यान गुमाएका छन् ।

जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधी सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । उक्त सरकारले फागुनमा प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गसिकेको छ । तर, जेनजीहरु भने आफ्नो माग पूरा नभएको भन्दै आन्दोलनको चेतावनी दिइरहेका छन् ।

पर्यटकीयस्थलबाट अन्नपूर्ण गाउँपालिकालाई एक करोड १५ लाख आम्दानी

म्याग्दी । चालु आर्थिक वर्ष २०८२/८३ मा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थलहरुबाट एक करोड १५ लाख आम्दानी गरेको छ । अन्नपूूर्णमा रहेका पर्यटकीयस्थल पुनहिल, भुरुङ्ग–तातोपानी, पाउद्वार र रातोपानी कुण्डमा प्रवेश शुल्क संकलन, होटल र चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर सो आम्दानी भएको गाउँपालिकाले जनाएको छ ।

पुनहिल, पाउद्वार र रातोपानीको आय ठेक्का सम्झौता भइसकेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । उनका अनुसार भुरुङ्ग–तातोपानी कुण्डमा प्रवेश शुल्क संकलन र चमेनागृह सञ्चालन गर्न रु ५० लाख एक हजारमा ठेक्का कबोलेको होटल हटस्पिरिङ इनसँग दसैँलगत्तै सम्झौताको तयारी भएको छ ।

अन्नपूूर्ण–६ स्थित पुनहिलमा प्रवेश शुल्क र चिया पसल सञ्चालनका लागि रु ५० लाख, पाउद्वार तातोपानी कुण्डको रु २५ लाख र रातातोपानीको रु तीन लाख न्यूनतम शूल्क कायम गरेर ठेक्का आह्वान भएको थियो ।

सबै पर्यटकीयस्थलको ठेक्कामा न्यूनतमभन्दा थोरै मात्र बढी कबोलेका व्यवसायीले अग्रिम रुपमा राजस्व जम्मा गरेर कानुनअनुसार १० प्रतिशत छुट पाएका छन् । रु ५० हजार आम्दानी हुने अनुमान गरिएको सेकार्कु तातोपानी, रु १५/१५ हजार आय ठेक्काको रकम कायम भएको नारच्याङ र महभिर झरनामा चमेनागृह सञ्चालन गर्न कसैको पनि प्रस्ताव नपरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बताए ।

गाउँपालिकाको खोप्रा क्षेत्रमा सञ्चालित होटललाई वार्षिक रूपमा व्यवसाय करबापत हरेकलाई रु ३० हजार र सार्वजनिक जग्गा प्रयोग गरेबापत रु ३६ हजार बहालबटौली कर लिने गरेको छ । गाउँपालिकाले मोहरेडाँडा, रुप्से छहरा, घोरेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोलालगायतका ठाउँमा रहेका होटल, रेष्टुरेन्ट तथा कफीसपबाट समेत व्यवसाय कर संकलन गर्दै आएको छ ।

गत आर्थिक वर्षमा रु एक करोड ७२ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्णले पर्यटन क्षेत्रबाट मात्रै रु एक करोड २७ लाख आम्दानी गरेको थियो । चालु आर्थिक वर्षमा रु दुई करोड १२ लाख ७५ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्णमा पर्यटकीयस्थलको योगदान प्रमुख छ ।

पुनहिल र भुरुङ्ग–तातोपानीमा नेपालीलाई प्रतिव्यक्ति रु ५० र विदेशीलाई रु १५० प्रवेश शुल्क कायम भएको छ । घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभिर झरना, विभिन्न ठाउँका तातोपानी कुण्डहरु रहेको यस गाउँपालिका–४ नारच्याङमा विश्वको दशौँ र नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथम हिमाल रहेको छ । पर्यटकीयस्थलको पूर्वाधार विकास, प्रचार–प्रसार र प्रवर्द्धन गर्दै स्थानीयको जीवनस्तर सुधारसँगै गाउँपालिकाको आन्तरिक राजस्व बढाउनतर्फ जोड दिइएको उनले बताए ।

भारतीय अवरोधका कारण हुलाकी राजमार्ग निर्माणको काम रोकियो

कञ्चनपुर । भारतीय अवरोधका कारण कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको कार्य अवरुद्ध भएको छ । बेलौरी नगरपालिका–८ पचुँइस्थित नेपाल–भारत सीमास्तम्भ नम्बर ३८ नजिक रहेको हुलाकी राजमार्ग सडक खण्डको करिब ७०० मिटर सडक आव २०७३/७४ मा ठेक्का भए पनि भारतीय अवरोधका कारण कार्य अगाडि बढन सकेको छैन ।

नगर प्रमुख पोतिलाल चौधरीका अनुसार भारतीय पक्षले इस्ट्रिप नक्साको आधार मान्दै सडक निर्माणको कार्यमा भारतीय सीमा सुरक्षा बल एसएसबीले निर्माणमा अवरोध पुर्‍याउँदै आएको छ । सीमा क्षेत्रभित्र पर्ने सडक भन्दै भारतीय पक्षले अवरोध गर्दै आएको उनले बताए ।

उनका अनुसार सडक खण्डको दक्षिणतर्फ ५० मिटरदेखि ३०० मिटरसम्म नेपाली जग्गाधनी पुर्जा भएको जमिन नेपालीले वर्षौंदेखि भोगचलन गर्दै आएका छन् । सडक निर्माणका लागि आवश्यक पहल गरिदिनका लागि प्रधानमन्त्रीलाई पत्रमार्फत अवगत गराइएको नगर प्रमुख चौधरीको भनाइ छ ।

फेरिइन् ‘जीवित देवी’, अढाइ वर्षीया आर्यतारा शाक्य नयाँ कुमारी

काठमाडौं । अढाइ वर्षीया आर्यतारा शाक्य नव नियुक्त राजकीय जीवित देवी कुमारी बनेकी छिन् । उनी शाक्य समुदायका १६ वटा बहालमध्ये इटुम्बाहलको बहालबाट चयन भएकी हुन् । उनका पिता श्री अनन्त शाक्य, आमा श्रीमती प्रतिष्ठा शाक्य र बहिनी परमिता शाक्य हुन् ।

आर्यतारा मंगलबार, अष्टमीका दिन ऐतिहासिक कुमारी घर, काठमाडौंमा औपचारिक रूपमा पूजनीय भएकी छिन् । आर्यतारा हालकी कुमारी तृष्णा शाक्यको उत्तराधिकारी बनेकी हुन् । तृष्णाको कुमारीकाल उनको किशोरावस्थामा प्रवेशसँगै परम्परा अनुसार समाप्त भएको हो ।

कुमारीकाल समाप्त भएपछि उनलाई बाजा गाजा सहित विशेष पूजापाठ गरेर घरसम्म पुर्‍याईयो र परम्परागत रीति अनुसार बिदाइ गरियो ।कुमारीलाई हिन्दू देवी तलेजुको जीवित अवतार मानिन्छ । उनको चयन प्रक्रिया प्राचीन तान्त्रिक विधि र ज्योतिषीय मूल्याङ्कनमा आधारित हुन्छ। यसमा पञ्चाङ्ग समिति, तलेजुका मूल पुजारी, गुठीका प्रतिनिधि र ज्योतिषी संलग्न हुन्छन् । राजकीय कुमारी शाक्य कुलकै हुनुपर्छ र आमा–बुवा दुवै जना काठमाडौंका स्थानीय शाक्य समुदायका हुनुपर्छ ।

नव नियुक्त कुमारीमा शारीरिक र धार्मिक गुणलाई विशेष महत्व दिइन्छ । परम्परा अनुसार, कुमारीमा ३२ गुण हुनु अनिवार्य छ-जसमा सुन्दरता, शारीरिक शुद्धता, शान्त स्वभाव, दैवी स्वरूपका विशेषताहरू, शरीरमा कुनै घाउ वा दाग नहुनु, सबै दाँत पूरा हुनु र असामान्य निडरता देखाउनुपर्ने अपेक्षा रहन्छ ।

आर्यताराको नियुक्तिले नेपालमै अद्वितीय शताब्दी पुरानो परम्परालाई निरन्तरता दिएको छ । राजकीय जीवित देवी कुमारीलाई हिन्दू तथा बौद्ध दुवैले पूजा गर्छन् र उनी राष्ट्रिय सांस्कृतिक तथा धार्मिक जीवनमा महत्वपूर्ण प्रतीकात्मक भूमिकामा रहन्छिन् ।

निर्वाचनको वातावरण बनाउनेतर्फ सबै लागौं : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विविधताले भरिपूर्ण नेपाली समाजमा सबै जाति तथा समुदायका संस्कृतिको संरक्षणबाट एकापसमा सहयोग, सद्भाव र सामाजिक एकता अभिवृद्धि हुने बताएका छन् ।

बडा दसैँका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले स्वदेश तथा तथा विदेशमा रहेका सम्पूर्ण नेपाली शुभकामना व्यक्त गर्दै समुन्नत नेपाल निर्माणका निम्ति सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिएका छन् ।

साथै अध्यक्ष नेपालले जनचाहनाअनुरूप स्थापित लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको रक्षा गर्दै तोकिएको मितिमा निर्वाध निर्वाचन गराउने वातावरण तयार गर्न समाजका सबै पक्षसँग आग्रह गरेका छन् ।

‘शान्ति, समावेशी लोकतन्त्रसहित विकासको बाटोमा नेपाल अघि बढिरहेको छ’

काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकराज थापाले शान्ति, लोकतन्त्र र समावेशी सहभागितासहित विकासको बाटो अवलम्बन गरी नेपाल अघि बढिरहेको बताएका छन् ।
संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघ महासभाको ८०औँ अधिवेशनलाई सोमबार नेपालका तर्फबाट सम्बोधन गर्दै स्थायी प्रतिनिधि थापाले भने, ‘हाम्रो अघि बढ्ने एक मात्र सम्भावित बाटो भनेकै शान्ति, लोकतन्त्र र समावेशी विकासको बाटो हो ।’
सम्बोधनका क्रममा उनले मुलुकमा विकसित पछिल्ला राजनीतिक घट्नाक्रमका बारेमा जानकारी गराएको अमेरिकास्थित नेपाली स्थायी नियोगले जनाएको छ । नेपाली युवा पुस्ता (जेन–जेड)ले पारदर्शी, जवाफदेही, जनउत्तरदायी र सुशासनका आधारस्तम्भमा टेकेर निष्पक्ष, न्यायपूर्ण र समृद्ध राष्ट्र निर्माणको माग गरेको स्थायी प्रतिनिधि थापाले बताए ।
नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्रीको नेतृत्वमा राज्य सञ्चालन भइरहेको जानकारी दिँदै उनले सार्वभौम नेपाली जनताले नयाँ नेतृत्व छान्न पाउने अधिकारसहित आगामी फागुन २१ गते आम निर्वाचनको मिति तोकिएको बताए ।
संयुक्त राष्ट्रसंघलाई बहुपक्षीयताको आधार, शान्ति, न्याय, मानव स्वाभिमान, साझा समृद्धि तथा नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको आशा भएको उल्लेख गर्दै उनले त्यसका महत्वपूर्ण एवं आधारभूत मूल्यमान्यताहरूलाई जोगाउनु पर्नेमा जोड दिए । संयुक्त राष्ट्रसंघ र यसको ‘चार्टर’लाई नेपालको परराष्ट्र नीतिको आधारस्तम्भका रूपमा व्याख्या गर्दै स्थायी प्रतिनिधि थापाले बहुपक्षीयताप्रति नेपालको अटुट विश्वासलाई पुनः पुष्टि गरे ।
उनले सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेपछिको सात दशकभन्दा बढी समयदेखि विश्वभर शान्ति प्रवद्र्धन, मानव स्वाभिमान र दिगो विकासका क्षेत्रमा नेपालको उल्लेखनीय योगदान रहँदै आएको स्मरण गरे ।
‘राष्ट्र संघको आह्वानअनुसार विश्वकै सबैभन्दा ठूलो शान्ति सैनिक पठाउने देशका रुपमा नेपाल रहेको छ’, स्थायी प्रतिनिधि थापाले भने, ‘हाम्रा उच्च व्यावसायिक शान्ति सैनिकहरू जिम्मेवारी बोधसहित विश्वका द्वन्द्वग्रस्त विभिन्न क्षेत्रमा शान्ति र स्थायित्वका पक्षमा अहोरात्र खटिरहेका छन्।’
उनले जलवायु परिवर्तनका कारण उत्पन्न विकराल समस्यासहित विश्वमा देखिएका संकटप्रति चिन्ता व्यक्त गर्दै सबै प्रकार र स्वरुपका आतंकवादको निन्दा गरे । सम्बोधनका क्रममा पूर्ण निःशस्त्रीकरणको आह्वान गर्दैै उनले विश्व शान्ति र समृद्धिका पक्षमा जोड दिए ।
प्यालेस्टाइनको गाजा क्षेत्रमा चर्किंदो मानवतावादी संकट र हमासद्वारा निर्दोष नागरिकलाई बन्धक बनाइएका घटनाप्रति चिन्ता एवं आपत्ति व्यक्त गर्दै उनले सन् २०२३ अक्टोबर ७ देखि हमासद्वारा बन्धक बनाइएका नेपाली नागरिक बिपिन जोशीलाई तुरुन्त मुक्त गर्न आग्रह गरे ।
महासभालाई सम्बोधन गर्दै स्थायी प्रतिनिधि थापाले विश्व शान्ति र सुरक्षाको प्रत्याभूति, बहुपक्षीयताको सुदृढीकरण र विश्वास पुनःस्थापना, दिगो विकास लक्ष्य कार्यान्वयनमा तीव्रता, अति कम विकसित देश तथा कमजोर मुलुकका लागि विकास तथा जलवायु वित्त, जलवायु न्याय, प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धि र समावेशी ‘डिजिटल’ रुपान्तरण प्रवद्र्धनलगायतका विषयमा विश्वव्यापी कार्यका लागि आह्वान गरे ।
अतिकम विकसित राष्ट्र र आर्थिक तथा सामाजिक परिषद् समेतको अध्यक्षका हैसियतमा स्थायी प्रतिनिधि थापाले प्रभावकारी, विश्वासिलो र नतिजामुखी सहकार्यद्वारा सुरक्षित, समृद्ध र दिगो विश्व निर्माणमा नेपालको दृढ प्रतिबद्धता व्यक्त गरे ।
संयुक्त राष्ट्र संघको ८०औं महासभाको पहलले समावेशी, पारदर्शी र प्रभावकारी बहुपक्षीय प्रणालीतर्फको सामूहिक प्रतिबद्धता नवीकरण गर्ने अवसर दिएको बताउँदै उनले अतिकम विकसित मुलुक र भूपरिवेष्टित विकासशील देशहरुलाई प्राथमिकतासहित सहयोग एवं सहुलियतको व्यवस्था हुनुपर्नेमा जोड दिए ।
स्थायी प्रतिनिधि थापाले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा सुधार गरी यसलाई अझ प्रतिनिधिमूलक, पारदर्शी र जवाफदेही बनाउनुपर्ने नेपालको मागलाई पुनः स्मरण गराए । साथै, वर्तमान विश्व यथार्थअनुसार विश्व वित्तीय संरचनाको सुधार आवश्यक रहेको पनि उनको जोड थियो । सामान्यतया राष्ट्र प्रमुख वा सरकार प्रमुखको नेतृत्वमा राष्ट्र संघीय महासभामा भाग लिने परम्परा रहेकामा यस वर्ष भने स्थायी प्रतिनिधि थापा नेतृत्वको  प्रतिनिधिमण्डल सक्रिय रहेको छ ।

युवा संघको चेतावनी : सरकारले ओली र महेश बस्नेतविरुद्ध प्रतिशोध साँध्यो, प्रत्युत्पादक होला

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले सरकारले केपी शर्मा ओली र महेश बस्नेतविरुद्ध प्रतिशोध साँधेको भन्दै यो प्रत्युपात्दक हुने चेतावनी दिएको छ ।

जेनजी आन्दोलनमा भएका दमन र क्षति छानबिन गर्न गठित जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीलाई विदेश जान रोक लगाउँदै काठमाडौँ उपत्यका बाहिर जान समेत अनुमति लिनुपर्ने निर्णय गरेपछि युवा संघले यस्तो चेतावनी दिएको हो ।

संघका अध्यक्ष क्षितिज थेवेले मंगलबार विज्ञप्ति जारी गरी आफ्नो संगठनका पूर्व इञ्चार्ज एवं एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध पनि प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाउन लागिएको भन्दै विरोध गरेका छन् ।

‘…वर्तमान सरकारले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका श्रद्वेय अध्यक्ष कमरेड केपी शर्मा ओलीलगायतको राहदानी रोक्का गर्ने निर्णय गरेकोप्रति हाम्रो संगठन गम्भीर चासो र आपत्ति प्रकट गर्दछ । गत भाद्र २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले विना कुनै आधार र प्रमाण जाँचबुझको प्रारम्भिक चरणमै विशुद्ध शंका र पूर्वाग्रहका आधारमा राहदानी रोक्काको निर्णय गरेको तथ्य छर्लङ्गै छ । हामी उक्त घटनाको निष्पक्ष छानबिनको पक्षमा छौँ तर छानबिन नै नगरी प्रारम्भमै अपराधी करार गर्नेगरी गम्भीर प्रकारका निर्णय गरिनु आपत्तिजनक छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो सम्पूर्ण जीवन नै नेपाली र नेपालका निमित्त समर्पण गर्नु भएको, आफ्नो सबै श्रीसम्पत्ति राज्यलाई सुम्पिसक्नु भएको र जस्तोसुकै परिस्थितिमा पनि मुलुक छोडेर नजाने घोषणा नै गर्नु भएका पूर्व प्रधानमन्त्री जस्तो व्यक्तित्वलाई अत्यन्तै हलुका ढंगले राहदानी रोक्का जस्तो निर्णय गरेर प्रतिशोध साँध्ने अराजनीतिक कार्य भएको छ । यसका साथै सरकारले हाम्रो संगठनका पूर्व इन्चार्ज, नेकपा एमालेका पोलिटब्युरो सदस्य कमरेड महेश बस्नेतमाथि समेत प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाउने समाचार आएका छन् । यस प्रकारका प्रतिशोधयुक्त क्रियाकलापमा सरकारलाई अग्रसर नहुन हामी जोडदार माग गर्दछौँ र यसप्रकारका गतिविधि वर्तमान सरकारलाई प्रत्युत्पादक हुने कुरामा समेत सचेत गराउन चाहन्छौँ ।’

हेर्नुस् युवा संघको विज्ञप्ति

यात्रुबाट मनपरी भाडा असुली

खोटाङ । खोटाङमा सञ्चालित यातायात व्यवसायीले चाडपर्वको मौका छोपेर यात्रुबाट मनपरी भाडा असुली गर्ने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको भाडा समायोजन बैठकमा सहभागी यातायात व्यवसायीले चाडपर्वको समयमा समेत साबिककै भाडादर लागू गर्ने सहमति गरे पनि यात्रुबाट प्रतिव्यक्ति रु ५०० देखि रु एक हजारसम्म बढी भाडा असुलेको पाइएको हो ।

जीप (टाटासुमो) का लागि दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलका लागि एकतर्फी भाडा रु दुई हजार कायम गरिए पनि यातायात व्यवसायीले रु दुई हजार ५०० देखि रु तीन हजार ५०० सम्म असुलेको पाइएको छ । दिक्तेल–धरान तथा धरान–दिक्तेलका लागि रु दुई हजार १०० निर्धारण गरिएको थियो । तर, प्रशासनमा गरिएको दुई पक्षीय सहमति कुनै पनि यातायात व्यवसायीले कार्यान्वयन नगरेको पाइएको छ ।

यतिसम्म कि बढी भाडा असुल गर्ने यातायात व्यवसायीले प्रहरी प्रशासनको कारबाहीमा पर्ने डरले यात्रुलाई टिकट नदिई यात्रा गराउने गरेको पाइएको छ । चाडपर्वका अवसरमा एकतर्फी यात्रा गर्ने मात्र यात्रु हुने भन्दै सबै यातायात व्यवसायीले ‘रिजर्भ’ को भाडा असुलेको यात्रुहरुले बताएका छन् ।

बढी भाडा असुल्नेमा तुवाचुङ मारतीका यातायात प्रालि, पब्लिक मध्यपहाडी यातायात प्रालि, सगरमाथा यातायात प्रालिलगायत यातायात प्रालिमा आबद्ध यातायात व्यवसायी रहेका छन् । सगरमाथा यातायात प्रालिले धरानबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीसम्मका लागि भनेर प्रतिव्यक्ति रु दुई हजार ५०० का दरले भाडा लिए पनि दिक्तेलमा ल्याएर छाडिदिएको यात्रुहरुले बताएका छन् ।

खार्मीका लागि भनेर धरानबाट चढेको सुमोले दिक्तेलमा ल्याएर छाडेपछि पुनः प्रतिव्यक्ति रु ७०० का दरले अर्को गाडीको टिकट लिएर घर पुगेको स्थानीय ज्ञानकुमारी राईले बताइन् । ‘हामीलाई टिकट पनि दिएन, खार्मी लैजाने भनेर दिएको फोन नम्बर पनि स्विच अफ थियो’, उनले भनिन्, ‘बेलुका अबेर भइसकेको थियो, त्यो दिन जसरी पनि घर पुग्नुपर्ने थियो, प्रहरीलाई खबर गर्ने समय थिएन, त्यसैले अर्को गाडीको टिकट लिएर घर पुग्यौँ, यातायात व्यवसायीले गरेको ठगी धन्दामा सम्बन्धित निकाय मौन बस्दा यात्रु मारमा परेका छन्, यसप्रति गम्भीर भएर सोच्न आवश्यक छ ।’

बाक्सिला–काठमाडौँ तथा काठमाडौँ–बाक्सिलाका लागि एकतर्फी जिप भाडा रु दुई हजार ८०० भए पनि आफूहरुले प्रतिव्यक्ति रु तीन हजार ५०० का दरले तिरेर यात्रा गर्न बाध्य भएको स्थानीय इन्द्र साम्पाङ राईले गुनासो गरे । यातायात व्यवसायीले आफूखुसी बढी भाडा असुलेको विषयमा प्रमाणसहित प्रहरी प्रशासनलाई खबर गर्दा समेत कुनै चासो नदिएको यात्रुले बताएका छन् ।

यातायात व्यवसायीले मनपरी भाडा असुलेको विषयमा जानकारी लिने क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक बाबुराम न्यौपानेले अहिलेसम्म कुनै गुनासो नआएको प्रतिक्रिया दिए ।

‘हामीले जिल्ला प्रवेश गर्ने ठाउँ जयरामघाट र प्रस्थान गर्ने ठाउँ दिक्तेल बजारमा यात्रु सहायता कक्ष सञ्चालन गरेका छौँ, अहिलेसम्म कसैबाट गुनासो आएको छैन’, उनले भने, ‘ठगीमा परेको भए प्रमाण उपलब्ध गराएको खण्डमा कारबाही गर्छौं, यद्यपि जिल्लामा सञ्चालित सबै यातायातका सवारीसाधनलाई निगरानीमा राखेका छौँ ।’

जिल्लामा सञ्चालित अधिकांश यातायातका साधनमा सिट क्षमताभन्दा बढी यात्रु राखेको समेत गुनासो आएको छ । खोटाङ यातायात प्रालिमा आबद्ध सवारी साधनले अहिलेसम्म कसैबाट बढी भाडा नलिएको र त्यस्तो गुनासो भए प्रमाण उपलब्ध गराउन दिक्तेल काउन्टरका प्रमुख अमिर अधिकारीले बताए ।

चाडपर्वका अवसरमा यात्रुको आवागमनलाई सहज र सुरक्षित बनाउन भाडादर नियमनमा कडाइ गर्ने जिल्ला प्रशासन कार्यालयले समेत निर्णय गरेको थियो । यातायात व्यवसायीले तोकिएकोभन्दा बढी भाडा असुल्ने, अतिरिक्त शुल्क लिने, क्षमताभन्दा बढी यात्रु चढाउने जस्ता क्रियाकलाप गरेको खण्डमा कानुनी कारबाही गर्ने प्रशासनले निर्णय गरे पनि कार्यान्वयन भएको छैन ।

गाउँमै राष्ट्रिय परिचयपत्र, हट्यो सदरमुकाम धाउनुपर्ने बाध्यता

हुम्ला । हुम्लाका अधिकांश ग्रामीण भेगका नागरिकको राष्ट्रिय परिचयपत्र गाउँमा नै बन्न सुरु भएपछि सदरमुकाम सिमकोट धाउनुपर्ने बाध्यता हटेको छ ।

यसअघि गाउँमा राष्ट्रिय परिचयपत्र नबन्दा नागरिकले हजारौँ रुपैयाँ खर्चेर सदरमुकाम सिमकोटमा रहेको जिल्ला प्रशासन कार्यालयमा धाउनु परेको थियो । पछिल्लो समय हुम्लामा एक महिनाको अवधिमा तीन हजार २६३ जनाको राष्ट्रिय परिचयपत्रका लागि ‘डाटा’ संकलन कार्य तीव्र गरिएको छ ।

गाउँपालिकाको कार्यपालिकाले निर्धारण गरेको स्थानका टोलटोलमा पुगी स्थानीयको राष्ट्रिय परिचयपत्रको डाटा संकलन गरेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए । प्रमुख जिल्ला अधिकारी रेग्मीसहितको सर्वपक्षीय बैठकमा जिल्लाका नाम्खा, सिमकोट, खार्पुनाथ र अदानचुली गाउँपालिकाका जनप्रतिनिधि एवं गाउँपालिका अध्यक्षसँग बैठक बस्दा गाउँपालिका अध्यक्षले राष्ट्रिय परिचयपत्र बनाउन पालिकावासीलाई सास्ती भएको गुनासो प्रमुख जिल्ला अधिकारीलाई सुनाएपछि प्रमुख जिल्ला अधिकारीको पहलमा गाउँगाउँमा पुगी राष्ट्रिय परिचयपत्रको डाटा संकलन गरिएको हो ।

एक महिनाको अवधिमा नाम्खामा एक हजार १५२, अदानचुलीमा ७१८, खार्पुनाथमा ८८५ र सिमकोटमा ५०८ गरी जम्मा तीन हजार २६३ जनाको राष्ट्रिय परिचयपत्रको डाटा ‘अफलाइन’ माध्यमबाट संकलन गरिएको र सदरमुकाम सिमकोटको जिल्ला प्रशासन कार्यालयमा आइपुगेपछि ‘अनलाइन’ मार्फत संकलन गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

युवाबीच आत्मीय सम्बन्ध बढाउन खेलकुद उत्सव

तनहुँ । तनहुँको भानु नगरपालिका–१२ स्थित अर्चले युवा क्लवले दसैंको अवसरमा खेलकुद उत्सव गरेर युवाहरुबीच आत्मीय सम्बन्ध बढाउने प्रयास गरेको छ । दसैंको अवसर पारेर क्लबले शनिबारदेखि सोमबारसम्म अर्चलेमा खेलकुद उत्सव गरेको हो ।

युवाबीच सद्भाव, समन्वय, सहकार्य र पारस्परिक एकताको भावना विकास गर्न क्लबले खेलकुद उत्सव आयोजना गरेको क्लबका अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए । खेलकुद उत्सवअन्तर्गत खुल्ला पुरुष भलिबलको उपाधि भानु नगरपालिका–१ भन्सार युवा परिवारले जितेको छ । फाइनल खेलमा भानु नगरपालिका–१० राइपालीभञ्ज्याङ युवा क्लवलाई पराजित गर्दै भन्सारले भलिबलको उपाधि जितेको हो ।

उपाधिसँगै भन्सारले नगद रु ५० हजार, पदक र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता राइपालीभञ्ज्याङलाई नगद रु २५ हजार, पदक र प्रमाणपत्र प्रदान गरिएको छ । यसैबीच, खुल्ला महिला फुटबल प्रतियोगिताको उपाधि जयापानी महिला समूहले जितेको छ भने अर्चले महिला समूहले उपविजेतामा चित्त बुझाएको छ ।

युवकले गरे श्रीमतीको हत्या

सुनसरी । सुनसरीको इटहरीमा एक युवतीको हत्या भएको छ । इटहरी उपमहानगरपालिका–१२ मा डेराभाडामा बस्ने खोटाङ ऐसलुखर्क गाउँपालिका–१ की २५ वर्षीया अनिसा भट्टराईको हत्या भएको हो ।

अनिसाको हत्या उनकै श्रीमान सुमन दाहालले गरेको खुल्न आएको प्रहरीले जनाएको छ । सुमनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले जानकारी दिए ।

घरायसी विवादका क्रममा सुमनले अनिसालाई काठको बटमले टाउको, नाक र कानमा प्रहार गरेका थिए । घटनापछि गम्भीर घाइते भएकी अनिसालाई प्रहरीको सहयोगमा उपचारका लागि विराटनगरस्थित विराट शिक्षण अस्पताल पुर्‍याइएको थियो । अनिसाको उपचारका क्रममा गए राति सवा ९ बजेतिर मृत्यु भएको डीएसपी हमालले बताए ।

 

बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी । पहिरोले अवरुद्ध बेनी–दरवाङ सडक सञ्चालन भएको छ । पहिरो पन्छाएर आज बिहानदेखि सडक सञ्चालन गरिएको पूर्वाधार विकास कार्यालयका निरीक्षक राम्जी आचार्यले जानकारी दिए । सडक खुलेसँगै अलपत्र परेका यात्री बोकेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमाना फापरखेतमा सामान्य वर्षा हुँदा पनि पहिरोको जोखिम हुने गरेको उनी बताउँछन् । पटक–पटकको पहिरोका कारण जिल्लाको पश्चिमी क्षेत्रका बासिन्दालाई आवागमनमा कठिनाइ भएको छ भने स्थानीय तहमा निर्माणाधीन सडक, विद्युत् सबस्टेशन, प्रसाररण लाइन र जलविद्युत् आयोजना प्रभावित भएका छन् ।

कारागारबाट भागेका कैदीबन्दीलाई असोज २० गतेसम्म फर्किने मौका

महोत्तरी । जेनजीको आन्दोलनको मौका छोपी गत भदौ २४ गते महोत्तरीको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीलाई यही असोज २० गतेसम्म फर्किन मौका प्रदान गरिएको छ ।

कारागार कार्यालय जलेश्वरले एक सूचना जारी गर्दै कारागारबाट भागेका सबै कैदीबन्दीलाई असोज २० गतेसम्म फर्की आउन अनुरोध गरेको जेलर अशोक क्षेत्रीले बताए । साथै तोकिएको अवधिभित्र फर्की नआउने फरार कैदीबन्दी उपर कारागार ऐन २०७९ र अन्य नेपालको प्रचलित कानुनबमोजिम कारबाही हुने जेलर क्षेत्रीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

कारागारबाट भागेका कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सूचनामा उल्लेख गरिएको छ । गत भदौ २४ गते कारागारमा कैदीबन्दी भई बस्दै आएका ४० भारतीयसहित सबै ५७६ जना फरार भएकामा आज बिहानसम्म यस कारागारमा २६२ जना फिर्ता आइसकेको क्षेत्रीले बताए ।

कतै रमाउँछ मन, कतै बिरक्तिन्छ : दशैंलाई जीवित राख्ने ११ कालजयी गीतहरु

काठमाडौं । दशैं आयो र साथमा ल्यायो मिठा सम्झनाहरू, बालापनको झल्को, परदेशीको पर्खाइ र सांगीतिक भावनाको सुनौलो श्रृङ्खला । नेपाली चाडपर्वको माहोललाई अझ जीवन्त बनाउने प्रमुख तत्व भनेकै दशैंका कालजयी गीतहरू हुन् । जसले कहिले आँखा रसाउँछन्, कहिले ओठ मुस्कुराउँछन् ।

हरेक वर्ष जस्तो, यसपालि पनि रेडियो, टिभी र युट्युब भरिन थालेका छन् दशैं विशेष गीतहरूले । तीमध्ये केही गीत यस्ता छन्, जुन पुस्ता बदलिँदै जाँदा पनि सांगीतिक सम्पदाका रूपमा जिउँदै छन् ।

१) ‘दशैं आयो’–मुग्लान फिल्मको कालजयी धुन
‘वर्ष र दिनको रमाइलो चाड, घरघरमा आइपुग्यो…’
मालश्री धुनपछि बज्ने यो गीत दशैंको आगमनको संकेतझैं भइसकेको छ । परदेशी फर्किएको उमङ्ग, टीकाको उत्साह र गाउँको रमाइलो । यो गीतले दशैंको पुरै कथा बोकेको छ ।

२) ‘नमुछे आमा दहीमा टीका’– परदेशीको पीडा बोकेको लोकभाका
नारायण रायमाझीको यो गीत २०५७ सालको हिट हो । कारगिल युद्धको पृष्ठभूमिमा लेखिएको गीतले आँखा रसाउने गरी दशैंको दर्द बोकेको छ। यो गीत कृष्णभक्त राईको स्वरमा समेत छ ।

३) ‘विछोडको पीडा नसकी खप्न दशैंको बेलामा’– पुरानो तर अमर युगल गीत
नारायण गोपाल र दिलमाया खातीको स्वरमा कलकत्तामा रेकर्ड भएको यो गीत दशैंको मन छुने अनुभूति बनिसकेको छ। यो गीतले सांगीतिक इतिहासमै विशेष स्थान ओगटेको छ ।

४) ‘दशैं नै हो कि, यो मेरो दशा’–यथार्थ र व्यङ्ग्यको संगम
योगेश्वर अमात्यको आवाजमा रहेको यो गीतले दशैंको बढ्दो खर्च, महँगी र सामाजिक दबाबलाई सशक्त ढंगले प्रस्तुत गर्छ । संवादसहित बनेको यो गीत विशेष स्वाद दिन्छ ।

५) ‘कहाँ हो समुन्द्रपारि, कर्मले डोर्‍यायो’– शान्ति मिसनको चित्त दुखाइ
चलचित्र ‘म तिमी बिना मरिहाल्छु’ को यो गीतमा विदेशी भूमिमा कार्यरत नेपाली सैनिकको दशैं पीडा पोखिएको छ । घरको सम्झनामा रुन बाध्य मनको कथा ।

६) ‘वर्षमा दिनैमा लै लै…’– परदेशी दाइको पर्खाइमा…
सुगम पोखरेलको आवाजमा रहेको यो गीतले घरमा आमा, बुबा, बहिनीको आशा र परदेशी दाइको सम्झनालाई भावुक रूपमा प्रस्तुत गर्छ ।

७) ‘यसपालि दशैंमा ठूलो दाजु आउने रे’–बालपनको चहक

कुल पोखरेलको स्वरमा रहेको यो गीत दशैंमा घर फर्किने दाजुको पर्खाइमा रहेको भाइ÷बहिनीको मासुम सपना हो । जुन अहिले पनि बालबालिकादेखि बयस्कसम्मले रुचाउँछन् ।

८) ‘यो दशैंमा म घर आइनँ’–सम्झनाको दोहोरी
रेशम थापा, उद्धव कार्की, सीता थापा र गीता कोइरालाको स्वरमा रहेको यो गीतले दशैंमा घर आउन नसक्नेहरूको व्यथा दोहोरीको माधुर्यमा पोखेको छ ।

९) ‘रातो टीका, दशैंको जमरा’– सिनेमाको सांगीतिक झल्को
चलचित्र ‘मनमन्दिर’ को यो गीत, राजेश हमाल र झरना थापाको अभिनयसहित, दशैंमा टेलिभिजनमा झन् धेरै घन्किने गीतमध्ये एक हो ।

१०) ‘थालैभरि रातो अक्षता र पाती’– लाहुरेको चिठीझैं गीत
सुनिल गिरीको स्वर, शब्द र संगीतमा आएको यो गीतले दशैंको गाउँको रमाइलो, लाहुरे फिर्ता भएको खुसी र भाका–शब्दको मिठास समेटेको छ ।

११) ‘प्रदेशबाट फरिया ल्याइदिउँला’– लोकपप शैलीको नयाँ स्वाद
शिव थापा मगरको स्वर र संगीतमा बनेको यो गीत आधुनिक लोकपप शैलीमा चर्चामा आएको छ । परदेशीको आश्वासन, आमाको पर्खाइ र प्रेमको सन्देश समेटिएको छ ।

बोनस गीत : ‘नौ रथाको दियो बाती’
तुलसी घिमिरेको शब्द, सचिन सिंहको संगीत, थुप्तेन भुटिया र दीपा झाको स्वरमा रहेको चलचित्र ‘लहना’ को यो गीत पनि पछिल्ला वर्षमा दशैं गीतका रूपमा मन पराइन्छ ।
निष्कर्ष– यी गीतहरू केवल धुन मात्र होइनन्, सांस्कृतिक स्मृति र भावनात्मक यात्राका दर्पण हुन् । कहिले लयमा रमाउँछन्, कहिले पीडामा भिजाउँछन् । दशैंले परिवार भेला पार्छ, यी गीतहरूले सम्झनालाई जीवन्त बनाउँछन् ।

चीनमा एकै परिवारका ११ जनालाई मृत्युदण्डको सजाय

काठमाडौं । म्यानमारमा स्क्याम सेन्टर (ठगी केन्द्र) चलाएको आरोपमा चीनको अदालतले एक माफिया परिवारका ११ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

उक्त परिवारका दर्जनौँ सदस्य आपराधिक गतिविधिमा संलग्न भएको पाइएको थियो । परिवारका धेरै अरू सदस्यलाई पनि लामो अवधिको जेल सजाय सुनाइएको छ ।

मिङ परिवार म्यानमारको शान्त सीमावर्ती सहर लौक्काईमा शासन गर्ने चार जातमध्ये एकका निम्ति काम गथ्र्यो । उक्त सहर चीनको सीमानजिकै अवस्थित छ, जसलाई उनीहरूले जुवा, लागुऔषध र ठगी केन्द्रको मुख्य थलोमा परिणत गरिदिएका थिए ।

त्यसविरुद्ध म्यानमारले कडा कारबाही सुरु गर्दै सन् २०२३ मा यो परिवारका धेरै सदस्यलाई गिरफ्तार गरेको थियो । उनीहरूलाई चिनियाँ अधिकारीको जिम्मा लगाइएको थियो । सोमबार वान्जाउको उत्तरी सहरस्थित एक अदालतले माफिया परिवारका कुल ३९ सदस्यलाई सजाय सुनाएको चीनको सरकारी प्रसारक सीसीटीभीले जनाएको छ ।