`

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौँ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने प्रधानमन्त्रीका स्वकीय अधिकृत उदय पोखरेलले जानकारी दिए ।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)को जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा उनीहरूबीच छलफल हुने जनाइएको छ ।

उद्धारका लागि इजरायल र इरानमा रहेका नेपालीको विवरण संकलन सुरू

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले इजरायल र इरानमा रहेका नेपालीको उद्धार प्रयोजनका लागि विवरण संकलन थालेको छ ।

इजरायलको तेल अविवस्थित दूतावासले सूचना जारी गरी नेपालीको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन दर्ताको व्यवस्था गरेको हो । सूचनामा सहभागी हुन इच्छुकले अनलाइन रजिष्ट्रेसन गर्न सकिने उल्लेख गरिएको छ ।

सूचनामा भनिएको छ, ‘इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा÷त्रासमा रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम सुरु गरेको छ ।’

इजरायलमा साढे पाँच हजार नेपाली रहेको अनुमान छ । इजरायल र इरानबीचको युद्ध बढ्दै गएपछि विभिन्न देशले आफ्नो नागरिकको उद्धार कार्य थालेका छन् ।

कांग्रेस नेताहरुद्वारा पूर्वमन्त्री शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका दिवंगत नेता ढुण्डिराज शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।

पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली अर्पण कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले शास्त्रीको पार्टीको झण्डा ओढाएर सम्मान गरेका छन् ।

त्यस्तै पार्टीका पदाधिकारी, नेता–कार्यकर्तालगायत सानेपा पुगेर शास्त्रीलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । शास्त्रीको उपचारका क्रममा सोमबार बिहान निधन भएको थियो ।

एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले ६ वटा प्रदेश ५० जिल्ला अधिवेशन सम्पन्न गरेको छ । पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेको हो ।

केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार सङ्गठनलाई सुदृढ गर्न सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यको भेला, सदस्यता विस्तार, राजनीतिक प्रशिक्षण सञ्चालन हुनेछ । बाँकी प्रदेश तथा जिल्लामा यथाशक्य चाँडो अधिवेशन गरिनेछ ।

तोलामा ९ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबार बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा ९०० रुपैयाँ र चाँदी ६५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुबार एक तोला सुनको मोल एक लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदी दुई हजार २२५ मा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ढुण्डिराज शास्त्रीको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता ढुण्डिराज शास्त्रीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गरेको हो ।

बैठकले शास्त्रीको निधनमा असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने, बिहीबार दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने तथा स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष चौलागाईंको चार वर्षे कार्यकाल पूरा

काठमाडौं । बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको चार वर्षे कार्यकाल पूरा भएको छ । कार्यकाल पूरा भएसँगै चौलागाईंको आफ्नो प्रगति विवरण सार्वजनिक गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । आफ्नो कार्यकालमा झण्डै १० हजार युवालाई सीपमूलक तालिमको आयोजना गरिएको र यो कार्यक्रमबाट सयौं युवा स्वरोजगार बन्न सफल भएका उल्लेख गरेका छन् ।

यस्तो छ चौलागाईंको भनाईको पूर्णपाठ

बागमती प्रदेश युवा परिषद्को पहिलो कार्यकारी उपाध्यक्षको रुपमा मेरो ४ वर्षे कार्यकाल मिति २०८२ साल जेठ ३१ गते पूरा भएको जानकारी गराउँदै मेरो कार्यकाल सुखद्, उपलब्धीमूलक र सफल बनाउन साथ, सहयोग गर्नुहुने प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रमुख सचिव, सचिव, कर्मचारी साथीहरु, सरोकारवाला निकायका पदाधिकारीहरु, युवा साथीहरु, पत्रकार मित्रहरु, मेरो परिवार, साथीभाइ सम्पूर्णमा आभार व्यक्त गर्दछु ।

राज्यको मूलधारमा युवा पुस्तालाई समावेश गर्न, गराउन, युवा पुस्तालाई प्रेरित गर्न प्रदेश युवा परिषद्को कानून निर्माण गरी कार्यान्वयन गर्दै मलाई पहिलो कार्यकारी उपाध्यक्षको रुपमा जिम्मेवारी दिनुहुने तत्कालिन मुख्यमन्त्री माननीय डोरमणि पौडेल ज्यू, सामाजिक विकास मन्त्री माननीय युवराज दूलालज्यू, मलाई पदस्थापित गर्नुहुने तत्कालिन सामाजिक विकास मन्त्री माननीय सरस्वती बस्नेत ज्यू, त्यसपछिका मन्त्रीहरु माननीय विजय सुवेदी ज्यू, माननीय कृष्ण खनाल ज्यू, माननीय कुमारी मोक्तान ज्यू, माननीय रत्नप्रसाद ढकाल ज्यू, माननीय रमा आले मगर ज्यू र वर्तमान युवा तथा खेलकुद मन्त्री माननीय मीनकृष्ण महर्जन ज्यूप्रति पनि आधार व्यक्त गर्न चाहन्छु ।

पहिलो कार्यकारी उपाध्यक्षको रुपमा जिम्मेवारी सम्हाल्दै गर्दा कहाँबाट, कसरी, के–के काम गर्ने भन्ने अन्यौलताका बीच सरोकारवालासँगको सरसल्लाह, उपलब्ध कानून, अधिकार र कर्तव्यलाई मध्यनजर गरी काम गर्दै अगाडि बढियो । आफू स्वयं युवा भएर युवाकै लागि गर्न सकिने, गर्नुपर्ने कामको खाका तयार पारेर अगाडि बढ्ने क्रममा मूलतः युवालाई राज्यको नीति, नियम, आफ्नो अधिकारको बारेमा बुझ्न, बुझाउन प्रेरित गर्ने खालका कार्यहरु गरियो । प्रदेश युवा नीति, नमूना युवा संसदको अभ्यास, युवा नीतिबारे बहस र पैरवी, युवा महिलाका लागि आत्मरक्षा तालिम, पहिलो वर्ष भर्चुअल प्रदेश युवा सम्मेलनसँगै लगातार तीन पटक प्रदेशका सबै जिल्ला, पालिकाको प्रतिनिधित्व रहने गरी प्रदेश युवा सम्मेलनको आयोजना महत्वपूर्ण रह्यो । प्रदेश युवा सम्मेलनले युवालाई अभिप्रेरित गर्ने, अभिमुखीकरण गर्ने र सक्षम युवाको रुपमा अग्रसर हुन अभिप्रेरित गर्न सफल भएका छौं ।

युवालाई सीप, रोजगार र स्वरोजगारसँग जोड्न पर्याप्त तालिमका कार्यक्रमहरु सञ्चालन गर्दै आर्थिक वर्ष २०८१/८२ लाई सीप वर्षकै रुपमा घोषणा गरेर काम गरियो । झण्डै १० हजार युवालाई सीपमूलक तालिमको आयोजना गरियो । यो कार्यक्रमबाट सयौं युवा स्वरोजगार बन्न सफल हुनुभएको छ । स्वरोजगार प्रतिनिधिमूलक युवाको दस्तावेजको पुस्तक समेत तयार हुँदैछ । महिला युवाको आत्मरक्षाको तालिमलाई प्रदेशभर व्यापक बनाइयो । यसले महिला युवाको आत्मरक्षामा ठूलो टेवा पुगेको छ । महिला युवालाई तालिम दिनकै लागि १३ जिल्लाकै प्रतिनिधित्व रहने गरी प्रशिक्षक प्रशिक्षण कार्यक्रम समेत आयोजना गरियो ।

युवालाई कुलतको बाटोबाट बचाएर कसरी सक्षम बनाउने भन्ने विषयमा पनि विविध कार्यशाला, अभिमुखीकरण तथा अभिप्रेरणामूलक कार्य गरिएको छ । मुख्यमन्त्रीसँग युवाको प्रत्यक्ष संवादका अभ्यासहरुले पनि युवालाई राज्यको संरचनाको बुझाई र युवालाई राज्यले बुझ्नुपर्ने विषयमा आवश्यक पैरवीको काम पनि परिषदमार्फत भएका छन् ।

समग्रमा ४ वर्षे कार्यकालमा सरोकारवालासँगको समन्वय, सहकार्यका लागि मैले आफूलाई सहजकर्ताको रुपमा प्रस्तुत गर्दै युवाका मुद्दा राज्य संयन्त्र, नागरिक समाज र समुदायमा स्थापित गर्न, गराउन सफल भएँ भन्ने ठानेको छु । देशका सात प्रदेशमध्ये कतिपय प्रदेशमा युवा परिषद् गठन समेत हुन नसकिरहेका बेला मैले मेरो कार्यकाल सफलतापूर्वक पूर्ण अवधि काम गर्ने अवसर पाएँ । यसमा साथ र सहयोग गर्नुहुने सम्पूर्णमा पुनः आभार व्यक्त गर्दछु । कतिपय अवस्थामा सरकार, सत्ता परिवर्तनको समयमा जटिलता समेत देखिएको थियो । त्यस अवस्थामा पनि सबैको साथ र सहयोगले आफ्नो जिम्मेवारी पूरा गर्न सफल भएँ ।

पूरा अवधि जिम्मेवारी सम्हालेर बाहिरिँदै गर्दा गर्व गर्न सक्ने काम भएको महसुस गरेको छु । आगामी दिनमा प्रदेश युवा परिषद्लाई खेलकुद परिषद्सँग गाभेर लैजाने प्रदेश सरकारले घोषणा समेत गरिसकेको छ । पहिलो पूर्ण कार्यकाल काम गरेको अनुभवका आधार युवाको सम्मान र युवा पुस्तालाई उचित सम्बोधन गर्न प्रदेश युवा परिषद्लाई हालकै संरचनामा कायम राखेर थप सशक्त बनाउनेतर्फ प्रदेश सरकारलाई आग्रह समेत गर्न चाहान्छु । मेरो कार्यकालको अनुभवलाई आगामी दिनमा पनि प्रदेश सरकारको आवश्यकतामा सक्दो साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै फेरि पनि माननीय मुख्यमन्त्री ज्यू, मन्त्री ज्यूसहित प्रमुख सचिव, सचिव, कार्यालयका कर्मचारी परिवारप्रति आभार व्यक्त गर्दछु ।

अन्तमा मेरो कार्यकालभर प्रदेश युवा परिषद्का राम्रा कामका विषयमा समाचार र विचार प्रस्तुत गर्नु भई, केही कमीकमजोरी हुँदा त्यसलाई औँल्याएर साथ, सहयोग गर्नु हुने सम्पूर्ण सञ्चारकर्मी प्रति हृदयदेखि नै आभारी रहँदै कृतज्ञता व्यक्त गर्दछु ।

धन्यवाद । नमस्कार ।

सन्तोष चौलागाई
कार्यकारी उपाध्यक्ष (२०७८–२०८२)
बागमती प्रदेश युवा परिषद्

उदयपुरको अमलचौरीमा दुई जना मृत फेला

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा दुई जना मृत फेला परेका छन् । अमलचौरीका २७ वर्षीय रविन्द्र राई र १४ वर्षीया मञ्जु राई मृत फेला परेका जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहर योगीले जानकारी दिएका छन् ।

मञ्जुको शव गाउँकै बाटोमा र रविन्द्रको शव मञ्जुको शव भेटिएको ठाउँबाट करिब दुई सय मिटर पर आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

इरानी सर्वोच्च नेता खामिनीलाई आत्मसमर्पण गर्न ट्रम्पको आग्रह

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयतुल्लाह खामिनीलाई आत्मसमर्पण गर्न सुझाव दिएका छन् ।

उनले सर्वोच्च नेता आयतुल्लाह खामिनी ‘हाललाई सुरक्षित’ रहेको र आत्मसमर्पण गर्नु नै उपयुक्त हुने बताएका हुन् । उनले आफ्नो सरकारसँग ‘इरानी आकाशमाथिको पूर्ण नियन्त्रण’ रहेको दाबी गरेका छन्। उनले भनेका छन्, ‘हामीसँग अहिले ईरानको आकाश पूर्णरूपमा नियन्त्रणमा छ ।’

ट्रम्पले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी जारी गरेपछि उनले एक घण्टा राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग आपतकालीन बैठक गरेका थिए। बैठकअघि नै पेन्टागनले सम्भावित आक्रमणको तयारीस्वरूप युरोपतर्फ करिब तीन दर्जन इन्धन आपूर्ति विमान खटाइसकेको थियो।

ती विमानहरूले मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरूमा तैनाथ लडाकु विमानहरूलाई सहायता गर्नुका साथै अमेरिकाबाट उडाइने बी–२ बमवर्षकहरूलाई इन्धन भर्ने कार्यमा प्रयोग गरिने बताइएको छ ।

बी–२ बमवर्षकको पहिलो लक्ष्य इरानको गहिरो भूमिगत परमाणु प्रशोधन केन्द्र ‘फोर्डो’ हुने सम्भावना रहेको अमेरिकी अधिकारीहरूको अनुमान छ ।

करिब १५ वर्षअघि निर्माण गरिएको यो केन्द्र पहाडी सुरक्षाका कारण अत्यन्त कठिन लक्ष्य मानिन्छ । स्थिति थप तनावपूर्ण बन्दै जाँदा अन्तर्राष्ट्रिय समुदायले वार्ता र कूटनीतिक समाधानतर्फ आग्रह गरिरहेका छन् ।

विनयी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्कीवासको विनयी खोलामा गएरातिदेखि परेको पानीले खोलामा बाढी आएपछि निर्माण गरेको अस्थायी डाइभर्सन पुनः बगाएको छ । डाइभर्सन बगाएपछि सवारी आवागमन दुईतर्फी बन्द भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

उक्त स्थानमा डिभिजन प्रमुखको निर्देशनमा इन्जिनियरसहितको टोली खटिई एक्साभेटर र टिपर परिचालन गरि छिटोभन्दा छिटो सवारी आवागमन खुलाउने प्रयास भैरहेको छ । पानीको वहाव कम हुँदै गए अबको ४–५ घण्टाभित्र सवारी आवागमन सुचारू हुने कार्यालयले जनाएको छ ।

त्रिकोणात्मक टी–२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले पहिलो जित निकालेको छ । स्कटल्याण्डमा जारी प्रतियोगितामा नेपालले घेरेलु टोलीमाथि २ विकेटको कठिन जित दर्ता गरेको हो ।

९८ रनको लक्ष्य नेपालले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो । अन्तिममा करण केसी र सन्दीप लामिछानेले नटआउट खेल्दै जिताए । करण ३ तथा सन्दीप १ रनमा नटआउट रहे । नेपालका कुशल भुर्तेल र लोकेश बमले ओपनिङ गरेका थिए । पहिलो विकेटका लािग यी दुईले २१ रनको साझेदारी गरे ।

२.४ ओभरमा लोकश ५ बलमा ९ रन बनाएर आउट हुँदा २ चौका प्रहार गरे । त्यसपछि क्रिजमा आम्एका अनिल साह व्यक्तिगत ३ रन जोडेर आउट हुँदा नेपालले २४ रनमा दोस्रो विकेट गुमायो । कप्तान रोहित पौडेल पनि धेरै रन बनाउन असफल भए ।

उनले १४ बलमा ७ रन बनाएर आउट हुँदा नेपालले ७.२ ओभरमा ३८ रन बनाएको थियो । चौथो विकेटको रुपमा कुशल भुर्तेल पभेलियन फर्किए । कुशलले ३५ बलमा ३० रनको पारि खेल्दा ४ चौका प्रहार गरे ।

उनी आउट नेपालको स्कोर १२.१ ओभरमा ६० रन बनायो । पाँचौं विकेटको रुपमा दीपेन्द्रसिंह ऐरी पभेलियन फर्किए । दीपेन्द्रले २१ बलमा १४ रन जोडेका थिए ।

टिमको स्कोर ७७ रन भएको बेला बसिर अहमद पनि आउट हुँदा नेपालले छैटौं विकेट गुमाउन पुग्यो । उनी १४ बलमा १३ रन बनाएर आउट भए । त्यसपछि रुपेश सिंह ३ रन बनाएर आउट हुँदा नेपाल दबाबमा देखिएको थियो ।

जितका लागि १ रन आवश्यक परेका बेला किरण ठगुन्ना १० रन बनाएर आठौं विकेटको रुपमा आउट भए । स्कटल्याण्डका साफियन सरिफ र मिचेल लिस्कले २–२ विकेट लिँदा अरुबलरले एक एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनायो । यसघि नेपाल नेदरल्याण्ड्ससँग तेस्रो पटक भएको सुपर ओभरमा पराजित भएको थियो । जितसँगै नेपाल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

स्कटल्यान्डले नेपाललाई दियो ९८ रनको लक्ष्य

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी२० क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डबाट ९८ रनको लक्ष्य पाएको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालले घरेलु टोलीलाई ९७ रनमा अलआउट गर्यो । नेपालका लागि सन्दीप लामिछानेले ४ तथा करण केसीले २ विकेट लिए ।

शृङ्खलाको पहिलो खेलमा आइतवार नेदरल्यान्ड्स स्कटल्यान्डसँग हारेको थियो । सोमबारको खेलमा तेहरो सूपरओभर खेल्दा नेपाल नेदरल्यान्ड्ससँग हारेको थियो।

पत्रकार दिलभूषण पाठकलाई साइबर ब्युरोमा उपस्थित हुन प्रहरीको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले पत्रकार दिलभूषण पाठकलाई उपस्थित हुन सूचना जारी गरेको छ । मंगलबार सूचना जारी गरी ब्युरोले यथाशीघ्र यस ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित हुन आग्रह गरेको हो ।

ब्युरोले भनेको छ, ‘पक्राउ अनुमति प्राप्त भएको हुँदा यथाशीघ्र यस ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भइ अनुसन्धान कार्यमा सहयोग पुर्याइदिनु हुन अनुरोध गरिएको छ ।’

साइबर ब्युरोले विद्युतीय कारोबार ऐनअन्तर्गत अदालतमा मुद्दा दायर गरेर पाठकलाई पक्राउ अनुमति लिएको थियो । तर उच्च अदालत पाटनले पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ ।

आँधीखोला संरक्षण अभियानका दुई अभियन्तामाथि वालिङ १० का वडाध्यक्षद्वारा रड प्रहार

काठमाडौं । आँधी खोला संरक्षण अभियानका दुई अभियन्तालाई स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले रड प्रहार गरी कुटपिट गरेका छन् ।

नदी संरक्षण अभियान घोषणा गरेर मोटरसाइकलमा फर्किएका अभियन्ता दिनकर नेपाल र मेघ आलेलाई वडाध्यक्ष खनालले वालिङ–९, सुर्कौदीमा रडले हानेका हुन् । वडाध्यक्षको प्रहारबाट नेपालको हेलमेटको सिसा फुटेको छ भने हातमा समेत चोट लागेको छ ।

विरोध कार्यक्रमबाट फर्कने क्रममा मोटरसाइकल रोकेर एक्कासी फलामको रडले आफूलाई हानिएको नेपालले बताएका छन् ।

हेर्नुस् भिडियो

रविन्द्र मिश्र धरौटी बुझाएर रिहा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र धरौटी बुझाएर छुटेका छन् । मिश्र तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

गत चैत १५ गते काठमाडौंको तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए ।

मिश्र उपस्थित भएपछि आजै उनको बयान र थुनछेक बहस गरिएको हो । न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

मिश्रविरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग गरिएको थियो । यसअघि सोमबार राप्रपाका महामन्त्री धवलशमशेर राणालाई पनि अदालतले ३ लाख धरौटीमा रिहा गरेको थियो ।

रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

मंगलबारको थुनछेक बहसपछि तारादेवी महर्जनको इजलासले उनलाई तीन लाख धरौटी माग गरेकाे हाे ।

संसद बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । संसद सचिवालयले मंगलबार सूचना टाँसेर बिहीबारसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिएको हो ।

बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ । सभामुख देवराज घिमिरेले दलहरूलाई बुधबार सहमतिका लागि गृहकार्य गर्न आग्रह गरेक छन् । यसअघि आज दिउँसो २ बजेपछि बसेको बैठक केहीबेरमै आधा घण्टाका लागि स्थगित भएको थियो ।

तोकिएको आधा घण्टामा बैठक चल्न नसकेपछि सूचना टाँस गरेर साढे ४ बजेका लागि सारिएको थियो । तर सदन संचालनका लागि दलहरुबीच सहमति नभएपछि सभामुखले बैठक बिहीबारसम्मका लागि स्थगित गरेका हुन् ।

गृहले गर्यो प्रमुख जिल्ला अधिकारीहरुको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहमन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो ।

गृहले गोरखामा रामुराज कडरिया, भोजपुरमा सुरेश पन्थी, डडेलधुरामा जनार्दन गौतम, इलाममा सुनिता नेपाल, सल्यानमा नेत्रप्रसाद सुवेदी, जुम्लामा केदारनाथ शर्मा, रोल्पामा वासुदेव दाहाल, बैतडीमा पुण्यविक्रम पौडेललाई सरुवा गरेको छ । त्यस्तै सिन्धुलीमा दिनेश सागर भुसाल र डोटीमा बुद्धबहादुर गुरुङलाई पठाएको छ ।

फिल्ममा सुर्तीजन्य पदार्थको सेवनका दृष्यको विकल्प खोज्नुपर्नेमा सरोकारवालाको जोड

काठमाडौं। फिल्म र म्युजिक भिडियोका दृष्यमा सुर्तीजन्य पदार्थ सेवनका दृष्यको विकल्प खोज्नुपर्नेमा सरोकारवाला एकमत भएका छन्। सोमबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा ‘अनिवार्य’ बाहेक त्यस्ता दृष्य नराख्ने कुरामा जोड दिइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कर कोषको कार्यालय र चलचित्र विकास बोर्डको सहयोगमा स्वास्थ्यखबर फाउन्डसेनले आयोजना गरेको ‘दृष्यमा सुर्तीजन्य पदार्थको प्रयोगः कथाले माग्छ ?’ कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, कलाकार शंकर बिसी लगायतले यस्तो धारणा राखेका हुन्।

डा. देवकोटाले कला क्षेत्रको प्रत्यक्ष प्रभाव पर्ने बताउँदै सुर्तीजन्य पदार्थ सेवनका दृष्यको विकल्प खोज्न आग्रह गरे। उनले भने, ‘हामी अहिले पनि टोपी मिलाउँदा राजेश हमाल (हिरोजस्तो) देखिएँ कि देखिइनँ भनेर सोच्ने गर्छौं । महिलाले कसैलाई सोच्नुहुन्छ होला। त्यो सिनेमाको प्रत्यक्ष प्रभाव हो। त्यहाँका गतिविधिले आम मान्छेको जीवनमा प्रभाव छाड्छन्।’

सर्जकलाई सृजनाका विषयमा सुझाव दिन भन्दा पनि आफैंले त्यस्ता दृष्यका विकल्पमा संसारमै मानक बनाउने दृष्य सृजना गर्नतर्फ लाग्नुपर्नेमा उनले जोड दिए। कलाकारिता सबै क्षेत्र, वर्ग र उमेर समूहसँग जोडिने बताउँदै उनले थपे, ‘तपाईंहरु चुरोट,सुर्तीको सहारा बिना नै अब्बल चरित्र निर्माण गर्न सक्नुहुन्छ।’

विकास बोर्डका अध्यक्ष डिसीले सुर्तीजन्य पदार्थको प्रयोगलाई सृजनशीलताका उच्चतम प्रयोगबाट न्यूनिकरण गर्न सकिने बताए। फिल्ममा देखाइएको दृष्यबाट बालबालिकामा प्रभाव पर्ने कुरामा आफू केही हदसम्म सहमत रहेको बताए।

उनले थपे, ‘बालबालिकाले सुर्तीजन्य पदार्थको प्रयोग चलचित्रबाट सिक्ने गरेका छन् भन्ने तर्कलाई केही हदसम्म मान्न सकिन्छ। यसै तर्कसँग जोडेर म मेरो विगतलाई स्मरण गर्न चाहन्छु। जतिबेला म विद्यालय तहको अध्ययन गरिरहेको थिएँ। त्यतिबेला भारतीय अभिनेता रजनीकान्तले हातले फ्याट्ट फ्याट्ट पारेको देख्दा मलाई पनि चुरोट घुमाउने रहर जागेको थियो।’

चलचित्रका विषयवस्तुले धुम्रपान तथा लागू औषधको प्रयोगलाई बढावा मात्रै दिने नभई त्यस्ता पदार्थको प्रयोग गर्ने तरिका समेत सिकाइरहेका हुन सक्ने भन्दै सचेत रहन कला क्षेत्रलाई आग्रह गरे।

फिल्म निर्देशक जनकदीप पराजुलीले प्रहरी, स्वास्थ्य, निजामती लगायत विभिन्न क्षेत्रले आग्रह गरेअनुसार फिल्म बनाउदा फिल्म नै नबन्ने चिन्ता व्यक्त गरे। तर, फिल्म बनाउनुअघि गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ थियो। उनले थपे, ‘हामी जति फिल्म बनाउनेहरु छौं। यसको असर थाहा छ। तरपनि हामी प्रयोग गरिरहेका हुन्छौं। त्यसमा भने ध्यान दिनुपर्छ।’ सामान्यतया सिनेमाभित्र कथाले मागेर नै यस्तो दृष्य राख्ने गरिएको पनि उनको तर्क थियो।

यसैगरी एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले कला क्षेत्र समाजको ऐना भएकाले विशेष सचेतना जरुरी भएको उल्लेख गरे। अध्ययनरअनुसन्धानलाई अघि सार्दै फिल्ममा चुरोट सेवन गरेको दृष्य देखेर सिकेको बताउनेहरुको संख्या उल्लेख्य रहेको बताए। उनले थपे, ‘जसरी अहिले फिल्म र गीतका म्युजिक भिडियोमा त्यस्ता दृष्य देखिइरहेका छन्, अप्रत्यक्ष रुपमा सुर्तीजन्य पदार्थ उत्पादकले सहयोग गरिरहेको जस्तो देखिन्छ। सर्जकहरुले सचेत हुनुपर्छ।’

म्युजिक भिडियो कलाकार संघका पूर्वअध्यक्ष तथा कलाकार शंकर बिसीले पहिले भन्दा अहिले दृष्यहरु कटौती गर्दै लगिएको बताए। देखासिकीमा त्यस्ता दृष्य निर्माण भइरहेको बताउँदै कलाकारमा बढ्दो सचेतनाले दृष्यमा कटौती भइरहेको उनको भनाइ थियो।

स्वास्थ्य मन्त्रालयका कामु उपसचिव गोपीकृष्ण रेग्मीले फिल्म हेर्ने क्रममा यस्ता दृष्य निकै नै देखिएपछि कार्यक्रमको अवधारणा आएको बताए। उनले कलाकर्मीलाई कानुन र जनस्वास्थ्य जानकारी दिएर थप जिम्मेवार बनाउन कार्यक्रम गरिएको बताए। साथै सुर्तीजन्य पदार्थका विषयमा रहेका कानुनी प्रावधान समेत उल्लेख गरे।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीले सुर्तीजन्य पदार्थले जनस्वास्थ्यमा पुर्‍याइरहेको हानीबारे जानकारी दिएका थिए। कला क्षेत्रले जनस्वास्थ्यका पक्षमा काम गर्नुपर्नेमा उनको जोड थियो।

कार्यक्रममा फिल्म, म्युजिक भिडियो क्षेत्रमा कार्यरतहरु, स्वास्थ्य मन्त्रालयका अधिकारी, फिल्म र म्युजिक भिडियोका र स्वास्थ्य बिटमा सक्रिय पत्रकारहरु सहभागी थिए।

पहिरो पन्छाएपछि मुग्लिन-नारायणगढ सडक संचालन

चितवन । पहिरो पन्छाएपछि मुग्लिन नारायणगढ सडक संचालन भएको छ । मुग्लिन नारायणगढ सडक खण्डको तुइनखोला नजिकै खसेको सुख्खा पहिरो हटाएर अपरान्ह चार बजेपछि यातायात संचालन भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

हाल सवारीसाधन दुईतर्फी आवागमन सुरु भइसकेको कार्यालयले जनाएको छ । आज मध्यान्ह इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनेको थियो ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक बोलाएको छ । कांग्रेसले बुधबार बिहान ८ः३० बजेका लागि बैठक बोलाएको हो ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थित आग्रह गरिएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग राख्दै रास्वपा र राप्रपाले सदन अवरुद्ध गरिरहेको सन्दर्भमा कांग्रेसले बैठक बोलाएको हो ।

सुक्खाबन्दरगाहबाट ११ महिनामा ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा ४५ अर्ब ६१ करोड ६८ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवको ११ महिनामा राजस्व सङ्कलन उत्साहजनक रहेको जानकारी दिए ।

उनले साउनमा रु तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड, असोजमा रु चार अर्ब ३६ करोड, कात्तिकमा रु तीन अर्ब ७९ करोड राजस्व सङ्कलन गरेको थियो । मङ्सिरमा रु तीन अर्ब २२ करोड, पुसमा रु तीन अर्ब ५६ करोड, माघमा रु चार अर्ब २९ करोड, फागुनमा रु चार अर्ब ६८ करोड र चैतमा रु चार अर्ब ५० करोड राजस्व सङ्कलन भएको बताए ।

वैशाखमा भने रु चार अर्ब ३४ करोड ५२ लाख ८९ हजार, जेठमा चार अर्ब ४३ करोड ५७ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयको चालु आवमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य छ ।

इजरायली सेनाको आक्रमणमा गाजाको सहायतास्थल नजिक ५० जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार इजरायली सेनाले क्षेत्रको दक्षिणमा खान युनिसको सहायता वितरण स्थल नजिकै भेला भएका कम्तीमा ५० जनाको हत्या गरेको बताएको छ ।

नागरिक सुरक्षा प्रवक्ता महमुद बासलका अनुसार बिहान एक परोपकारी सहायता केन्द्रमा पिठो लिन हजारौँ प्यालेस्टिनी भेला हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको र दुई सयभन्दा बढी घाइते भएका छन् ।

“इजरायली ड्रोनहरूले नागरिकहरूमा गोली हाने । केही मिनेटपछि इजरायली ट्याङ्कहरूले नागरिकहरूमा धेरै गोली हाने, जसले गर्दा ठूलो सङ्ख्यामा शहीद र घाइते भए” उनले भने । इजरायली सेनाले एएफपीलाई उक्त घटनाको ‘जाँच’ गरिरहेको बताएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले पछि घटनाको परिणाम स्वरूप ‘५१ जना शहीद र दुई सयभन्दा बढी घाइते नासेर मेडिकल कम्प्लेक्समा आइपुगेका छन्, जसमा २० जनाको अवस्था गम्भीर छ’ भनेको छ ।

गाजा पट्टी इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच २० महिनाभन्दा बढीको युद्धले ध्वस्त भएको छ र जमिनमा स्थिति निरन्तर बिग्रिरहेको छ ।

हमासद्वारा प्रशासित गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार इजरायलले मार्च १८ मा युद्धविरामपछि यस क्षेत्रमा आक्रमण पुनः सुरु गरेदेखि पाँच हजार एक सय ३९ जनाको मृत्यु भएको बताएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबर ७ मा युद्ध सुरु भएदेखि गाजामा कुल मृत्युको सङ्ख्या ५५ हजार चार सय ३२ पुगेको छ ।

ट्रम्पले इरान–इजरायल द्वन्द्वमा ‘आगोमा घिउ थपेको’ चीनको आरोप

बेइजिङ । चीनले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि इरान र इजरायलबीचको बढ्दो द्वन्द्वमा ‘आगोमा घिउ थपेको’ आरोप लगाएको छ । ट्रम्पले तेहरानका बासिन्दाहरूलाई ‘तुरुन्त खाली गर्न’ गर्न चेतावनी दिएपछि चीनले त्यस्तो आरोप लगाएको हो ।

दशकौँको शत्रुता र लामो छायाँ युद्धपछि, इजरायलले गत हप्ता इरानभरका लक्ष्यहरू विरुद्ध आश्चर्यजनक हवाई अभियान सुरु गर्यो । आक्रमणको उद्देश्य आफ्नो शत्रु इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न बताइएको छ । इरानले आणविक हतियार प्राप्त गर्ने महत्त्वाकांक्षालाई अस्वीकार गरेको छ ।

शत्रुताको अचानक भड्काउले व्यापक द्वन्द्वको डर फैलाएको छ । ट्रम्पले इजरायलको आक्रमणले चलिरहेको आणविक वार्तालाई लिकबाट उतारेपछि इरानलाई वार्ताको टेबलमा फर्कन आग्रह गरेका छन् ।
ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक असाधारण चेतावनी पनि जारी गर्दै भने, “सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ !”

“आगो जलाउने, घिउ खन्याउने, धम्की दिने र दबाब बढाउनेले स्थितिको शान्तिकरणलाई बढावा दिन मद्दत गर्दैन, यसले द्वन्द्वलाई मात्र तीव्र र फराकिलो पार्छ”, ट्रम्पको टिप्पणीका बारेमा सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भने, “चिनियाँ पक्षले सबै सम्बन्धित पक्षहरू, विशेष गरी इजरायलमाथि विशेष प्रभाव भएका देशहरूलाई आफ्नो जिम्मेवारी बहन गर्न, तनाव कम गर्न तत्काल उपायहरू लिन र द्वन्द्वलाई विस्तार र फैलिनबाट रोक्न आह्वान गर्छ ।”

इजरायल र इरानले भारी आक्रमण गरेपछि इजरायलमा रहेको चिनियाँ दूतावासले मङ्गलबार पनि आफ्ना नागरिकहरूलाई ‘सकेसम्म चाँडो’ देश छोड्न आग्रह गरेको छ ।

“इजरायलमा रहेको चिनियाँ मिसनले चिनियाँ नागरिकहरूलाई उनीहरूको व्यक्तिगत सुरक्षाको ग्यारेन्टी गर्नसक्ने पूर्व शर्तमा भूमि सीमा पार गरेर सकेसम्म चाँडो देश छोड्न सम्झाउँछ”, दूतावासले विच्याटमार्फत विज्ञप्तिमा भनेको छ, “जोर्डनको दिशामा प्रस्थान गर्न सिफारिस गरिन्छ ।”

दूतावासले द्वन्द्व ‘निरन्तर बढ्दै गएको’ चेतावनी दिएको छ । “धेरै नागरिक पूर्वाधारहरू क्षतिग्रस्त भएका छन्, नागरिक हताहतको सङ्ख्या बढिरहेको छ र सुरक्षा अवस्था अझ गम्भीर हुँदै गइरहेको छ”, दूतावासले भनेको छ ।

शेयर बजारमा सामान्य गिरावट

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से घटेको छ । मंगलबार नेप्से ३ दशमलव ९० अङ्कले घटेर २ हजार ६ सय ५४ दशमलव ७५ विन्दुमा झरेको छ ।

आज जलविद्युत्, लघुवित्त र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल समूहको शेयर डेढ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज गार्जियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर साढे ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटेको दिन प्योर इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार ३ सय ६ कम्पनीका १ करोड ६४ लाख कित्ता शेयर ७ अर्ब ६५ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित संघ-संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा भएको भेटमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली र नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष सुमनमान ताम्राकारसहितको टोलीले उक्त करको व्यवस्था लागु गर्दा आफूहरूको व्यवसाय धरासयी हुने भएकाले पुनः विचार गर्न माग गरेको हो ।

ती संस्थाहरूले कर र भन्सारका दर छिमेकी भारतको भन्दा बढी हुँदा नेपाली व्यवसायले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले उक्त व्यवस्था कायम रहेमा आफूहरू आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका थिए ।

प्रधानमन्त्री ओलीले संवादबाट समस्याको समाधान खोज्न आफूले सम्बन्धित मन्त्रालयसँग बुझ्ने र मिल्नेसम्मका माग पूरा गर्न लागिपर्ने विश्वास दिलाउँदै आन्दोलनको बाटोमा नलाग्न आग्रह गरेका छन् ।

बागलुङका ६ हजारभन्दा बढी बालबालिकालाई लगाइयो सबै खोप

ढोरपाटन (बागलुङ) । बागलुङका १५ महिनासम्मका तीन हजार ५५२ र १६ देखि २३ महिनासम्मका तीन हजार ९८ गरी छ हजार ६४७ जना बालबालिकालाई सबै खोप लगाइएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाका अनुसार बालबालिकालाई १५ महिनाभित्र लगाउनुपर्ने १३ वटा रोगविरुद्धका सबै खोप लगाइएको हो ।

“बागलुङका सबै स्थानीय पालिकाले स्वास्थ्य संस्था स्थापना गरेर बालबालिकालाई खोप लगाउने र अन्य स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्, बालबालिकालाई दिने नियमित खोपबाहेक यस वर्ष हामीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप पनि लगाइसकेका छौँ, विद्यालय जाने ६ देखि १० कक्षासम्मका ११ हजार ६२ छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका ११ किशोरी गरी जम्मा ११ हजार १७७ जना (९८ प्रतिशत)लाई उक्त खोप लगाएका छौँ”, उनले भने ।

हाल बागलुङ जिल्लामा २०५ वटा खोप केन्द्रबाट तथा २१५ खोप ‘सेसन’मार्फत प्रत्येक महिना खोप तथा सरसफाइ प्रवद्र्धन सेवा प्रवाह हुँदै आएको छ ।

बागलुङ नगरपालिकाका एक हजार १२२, जैमिनी नगरपालिकाका ७७२, गलकोट नगरपालिकाका ७५४, ढोरपाटन नगरपालिकाका एक हजार ६२, बडिगाड गाउँपालिकाका ७९५, निसीखोला गाउँपालिकाका ८२९, तमानखोला गाउँपालिकाका २७७, ताराखोला गाउँपालिकाका १९३, काठेखोला गाउँपालिकाका ४३४, बरेङ गाउँपालिकाका ६४५ बालबालिकालाई सम्पूर्ण खोप लगाइएको प्रमुख सापकोटाले बताए।

नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड

बागलुङ । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ खण्डको २६ किलोमिटर सडक नौ वर्ष बित्दासमेत निर्माण सम्पन्न भएको छैन।

बागलुङ बजारदेखि घोडाबाँधेसम्मको सो सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको ९ वर्ष बित्दासमेत अझै १२ किलोमिटर अलपत्र छ। बागलुङ–बिहुँको १३ किलोमिटर र बिहुँ घोडाबाँधेको १३ किलोमिटर सडकलाई छुट्टाछुट्टै खण्ड बनाएर आर्थिक वर्ष २०७२/७३ मा दुई वर्षमा कालोपत्र सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो। उक्त दुई खण्डमध्ये बिहूँ–घोडाबाँधेको १३ किलोमिटरको ठेक्का गत वर्ष तोडेर नयाँ ठेकेदारसँग सम्झौता भए पनि कामले गति लिन सकेको छैन।

बागलुङ बिहूँ खण्डको १३ किलोमिटरमध्ये जम्मा नौ किमी सडक कालोपत्र भए पनि अन्य सडक कालोपत्र हुन नसकेको हो। बागलुङ बिहूँ खण्डको चार किलोमिटर सडक कालोपत्रका लागि तीन महिनाअघि सडकमा हालेको बिटूमिन पानीले बगाएको मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वत कार्यालयका इन्जिनियर कल्पना मिश्रले जानकारी दिए।

‘निर्माण व्यवसायीको चरम लापरबाही छ, बागलुङ बिहूँ खण्डको १३ किमी सडक पाँचपटक म्याद थप गर्दासमेत सकिएन, अहिले निर्माण व्यवसायी कार्यस्थलमा छैन, काम सम्पन्न भइसकेको स्थानमा समेत पुनः मर्मत गर्न आवश्यता छ,’ मिश्रले भने, ‘बिहुँ–घोडाबाँधे खण्डको १३ किमी सडक पाँचौँ पटक म्याद थप्दासमेत सम्पन्न नभएपछि ठेक्का तोडेका थियौँ, नयाँ निर्माण व्यवसायीको प्रगतिसमेत कछुवा गतिमा छ, दुई वर्षमा सक्ने भनेको ठेक्का एक वर्षमा १० प्रतिशत मात्रै काम भएको छ।’

कालोपत्र भइसकेको १४ किलोमिटर सडकमा समेत खाल्टाखुल्टी परेको छभने थुप्रै संरचना बनाउन आवश्यक देखिएको छ। पाँचपटक म्याद थप्दासमेत ठेक्का सम्पन्न नभएको बागलुङ बिहूँ खण्डको दुई किलोमिटरमा तीन महिनाअघि बिटूमिन छरेर निर्माण व्यवसायी फर्केको छैन।

‘पछिल्लो पाँचौँ पटकको ठेक्का सम्झौताको म्याद समेत सकिएको चार महिना भयो, निर्माण व्यवसायी म्याद थप गर्नसमेत आएको छैन, कालोपत्र सम्पन्न नभइ भुक्तानी गर्न मिल्दैन,’ मिश्रले भने, ‘निर्माण व्यवसायीले काम नगर्दा बजेट ‘फ्रिज’ हुने अवस्था छ, नयाँ ठेक्का लगाएको बिहूँ घोडाबाँधे खण्ड एक वर्षमा १० प्रतिशत काम हुँदा आयोजनाको चालु आर्थिक वर्षको बजेट अधिकांश फिर्ता पठाउने तयारी छ।’

बागलुङ–बिहूँको १३ किलोमिटर खण्ड २०७३ साल माघ १४ गते भारतरसिद्धिसाइसँग दुई वर्षमा सम्पन्न गर्ने गरी रु ४३ करोड ६५ लाखमा सम्झौता भएको थियो। सो ठेक्का पाँचाँै पटक म्याद थप्दा ७८ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। ठेकेदारले रु ३४ करोड ३१ लाख भुक्तानी लिइसकेको छ।

साढे दुई करोड भुक्तानी लिन बाँकी भएकाले काम गर्न नसकिएको निर्माण व्यवसायी राजु गौतमले जानकारी दिए। उनले कालोपत्र गर्नका लागि छरेको बिटूमिन पानीले बगाएपछि झनै समस्या भएको बताए।

बिहूँ–घोडाबाँधे खण्डको १३ किलोमिटर सडक सात आठ वर्ष बित्दा कालोपत्र सम्पन्न नभएपछि ठेक्का तोडेर २०८१ असार २१ गते दुई वर्षमा बाँकी पूर्वाधार र कालोपत्र सक्नेगरी तामाङ/रजिल भगवती जेभीसँग रु २१ करोड ४९ लाखमा ठेक्का सम्झौता गरिएको थियो। उक्त खण्डको एक वर्षको प्रगति जम्मा १० प्रतिशत मात्रै भएको लोकमार्ग आयोजना कार्यालयले जनाएको छ।

गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा यातायातका शाखा अधिकृतविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय, सवारी अनुमति पत्र पर्साका अधिकृत कमलराज गौतमविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गौतमविरुद्ध सेवामा रहँदा पदीय मर्यादाविपरित गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीका आधारका अनुसन्धान गर्दा साढे २ करोडभन्दा बढी स्रोत नखुल्ने सम्पत्ति भेटिएको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको हो ।

अनुसन्धानका क्रममा २०५५ सालमा सेवा प्रवेश गरेका गौतमले ०७९ चैतसम्मको अवधिमा वैध आयभन्दा २ करोड ५१ लाख ७८ हजार ६ सय ८७ रुपैयाँ ७१ पैसा भ्रष्टाचार गरेको पाइएको अख्तियारको ठहर छ ।

निलो रिबनधारी रास्वपा सांसदलाई बैठकबाट निस्कासन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले निलो रिबन लगाएर संसदमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई निस्कासन गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा निलो रिबन लगाएर रास्वपाका सांसद गएपछि कांग्रेस मुख्य सचेतक श्यामप्रसाद घिमिरेले रास्वपाका सांसदहरुलाई बैठकबाट निस्कासन गर्न सभामुखलाई आग्रह गरेका हुन् ।

उनले संसदको नियमावली सम्झाउँदै भने, ‘संसद सचिवालयको नियमावली ३० मा अभद्र व्यवहार नियन्त्रको व्यवस्था छ । नियम ३१ मा बैठक कक्षबाट निष्कासन गर्ने व्यवस्था छ । निलो स्काफ लगाएर संसदमा आउनु मर्यादित हुन्छ कि हुँदैन ? भोलि हाफ पाइन्ट मात्रै लगाएर आउने, जथाभावी पोशाकमा आउने गरे, त्यो संसद्को मर्यादामा पर्छ कि पर्दैन ? सभामुखले चेतावनी दिएर उनीहरूलाई संसद्बाट निष्कासन गर्न सक्नुपर्छ । यो संसद्को मर्यादाबाहिरको विषय हो । यसमा उचित निर्णय लिनुपर्छ ।’

रास्वपाका सांसदहरु मानव तस्करीविरुद्ध निलो रिबन लगाएर संसदमा गएका थिए । घिमिरेको भनाईप्रति आपत्ति जनाउँदै रास्वपाका सांसदहरुले नाराबाजी गरे । त्यसपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

 

रास्वपा र राप्रपाको विरोधपछि संसद बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभामा आजको बैठकमा पनि रास्वपा र राप्रपाले विरोध जारी राखेका छन् । बैठक सुरु हुनासाथ रास्वपा सांसद चन्दा कार्कीलाई सभामुख देवराज घिमिरेले बोल्न समय दिएका थिए ।

कार्कीले भिजिट भिसा प्रकरणमा सरकार मौन बसेको भन्दै आपत्ति जनाइन् । उनले आफूहरुले गृहमन्त्रीलाई अपराधी नभनेको र यो प्रकरण छानबिन गर्न माग गरेको बताइन् ।

उनले २०६४ सालदेखि नै चल्दै आएको गम्भीर विकृति भएको भन्दै उच्चस्तरीय छानबिन समिति माग गरेको बताइन् । उनले बोलेपछि कांग्रेस मुख्य सचेतक श्यामकुमार घिमिरेलाई बोल्न समय दिइएको थियो ।

तर रास्वपा र राप्रपाका सांसदले नाराबाजी गरेपछि सभामुखले बैठक आधाघण्टाका लागि स्थगित गरेका छन् । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आइरहेका छन्।

जनतामा छरिएका भ्रम चिर्न मन्त्री दाहालको आग्रह

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागरिकमा छरिएका भ्रमहरु चिर्न आग्रह गरेका छन् ।

देशमा केही भएन र हुँदैन भन्ने भाष्य निर्माण गरी भ्रम छर्ने काम भइरहेकाले त्यस्ता तत्वलाई परास्त गर्न जरुरी रहेको उनले बताए । मन्त्री दाहालसँग भेट गर्न आएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन (अनेरास्ववियु) को नेतृत्वलाई मन्त्री दाहालले सो आग्रह गरेका हुन् ।

हालै झापामा सम्पन्न अनेरास्ववियुको २४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरुको टोलीले मन्त्री दाहालसँग भेट गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्यसमेत रहेका मन्त्री दाहालले नेपालको शैक्षिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको सङ्गठनले गुणस्तरीय, जीवन उपयोगी र व्यावहारिक शिक्षाका लागि नेतृत्व लिने विश्वास व्यक्त गरे ।

अखिलको महाधिवेशनबाट नीति, योजना तथा अनुसन्धान आयोगको अध्यक्षमा निर्वाचित प्रकाश विष्टसहित केन्द्रीय सदस्य एवम् सचिवालय सदस्यमा निर्वाचितहरुले मन्त्री दाहालसँग भेट गरेका हुन् ।

भेटका क्रममा नेकपा (एमाले) झापा काठमाडौँ सम्पर्क मञ्चका उपाध्यक्ष मनोज दाहाल, अखिलका पूर्वसचिव मनोज ताम्लीलगायतले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिएका थिए ।

सुनसरीमा दुई हजार एक सय किलो गाँजासहित तीन जना पक्राउ

धरान-। इटहरी उपमहानगरपालिका-२० तरहरा स्थित धरान-तरहरा सडकबाट प्रहरीले दुई हजार १०० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

आज बिहान धरानबाट इटहरी जाँदै गरेको ना.५ ख ६११६ नम्बरको ट्रक रोकेर जाँच गर्ने क्रममा ४८ बोरा बन्दाकोभी र १२ आलुको बोरा बीचमा लुकाइएको अवस्थामा ७० बोरा गाँजा फेला परेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए।

उक्त गाँजासहित ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका-६ का ३२ वर्षीय राजेन्द्र राई, ट्रकमा सवार ३३ वर्षीय सुनिल राई र सुनसरीको बराहक्षेत्र नगरपालिका-९ का ३४ वर्षीय सुमन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरूमाथि लागुऔषधसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक तिमल्सिनाले जानकारी दिए।

सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँः वनमन्त्री शाही

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले गत जेठमा काठमाडौँमा सम्पन्न सगरमाथा संवादका निष्कर्षलाई कार्यान्वयन गर्न सरकार कार्ययोजना बनाई अघि बढेको बताएका छन् ।

सहास नेपाल, युथ एलान्स फर इन्भाइरोन्मेन्ट, क्रिडाकलगायत संस्थाले संयुक्त रुपमा मंगलबार आयोजना गरेको ‘पोष्ट सगरमाथा संवाद’को उद्घाटनमा उनले संवादको ‘२५ बुँदे सगरमाथा आह्वान’ कार्यान्वयन गर्न सबैसँग समन्वय गरी अघि बढेको जानकारी दिए ।

मन्त्री शाहीले भने, “नेपाल जलवायुबाट बढी प्रभावित मुलुक हो, त्यसमा पनि महिला, बालबालिका, आदिवासी/जनजाति, दलित, लोपोन्मुख समुदाय बढी प्रभावित छन् । त्यस्ता समुदायको आवाज अझ मुखरित गर्न संवादमार्फत सफल भएका छौँ ।”

कार्यक्रममा राष्ट्रियसभाको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) का सभापति ठाकुरप्रसाद गैरेले संवादमार्फत नेपालले जलवायुले हिमालमा पारेको असर विश्वसामु ध्यानाकर्षण गराउन सफल भएको उल्लेख गरे । उनले जलवायुले हिमालदेखि समुद्रसम्म असर गरेको उल्लेख गर्दै जलवायुका नकारात्मक असरविरुद्ध लड्न संवादबाट उद्घोष हुनु नै ठूलो सन्देश भएको बताए ।

कार्यक्रममा पूर्वसचिव मधुकुमार मरासिनीले प्रमुख मन्तव्य प्रस्तुत गर्दै हिमाल हाम्रो पहिचान र सभ्यता भएकाले यसको संरक्षणमा लाग्नु सबैको कर्तत्व भएको बताए । सहास नेपालका कार्यकारी निर्देशक डा सुरेन्द्रकुमार श्रेष्ठले सगरमाथा संवादका निष्कर्षलाई नीतिमा आबद्ध गर्न र साझा धारणा बनाउन कार्यक्रम गरिएको बताए।

मानव तस्करीविरूद्ध ‘निलो रङको रिबन’मा रास्वपाका सांसद

काठमाडौं । भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै सदनमा नाराबाजी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले विरोधको फरक शैली अपनाएको छ । मंगलबार रास्वपाका सबै सांसदहरूले निलो रङको रिबन लगाएर विरोध जनाएका छन् ।

निलो रङको दोसल्ला लगाएको सामूहकि तस्बिर सार्वजनिक गर्दै सांसदहरुले भनेका छन्, ‘मानव तस्करीविरूद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीकले जनाउँछ । आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबैले सांसदहरुले सदनमा निलो रिवन लगाएर ‘मानव तस्करी’ को विरोध गरेका छौं । हाम्रो आन्दोलन जारी छ ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति बनाउन माग गर्दै रास्वपाले दैनिक संसद बैठकमा नाराबाजी गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक सिरहाका दुई खेलाडी

सिरहा । जारी त्रिदेशीय टी–२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गतको प्रतियोगितामा सिरहाका दुई खेलाडी एकै पटक सहभागी हुन सफल भएका छन् ।

स्कटल्यान्डको टिटउट रङ्गशालामा सोमबार राति भएको नेदरल्यान्डस् विरुद्धको खेलमा सिरहाको बरियारपट्टि गाउँपालिका–४ का नन्दन यादव र औरही गाउँपालिका–३ ईंटाटारका रुपेशकुमार सिंह सहभागी भएका हुन् ।

तेस्रो सुपर ओभरमा नेपाल पराजित भएको उक्त प्रतियोगितामा ‘डेब्यु’ गरेका नन्दन र रुपेश दुवैले राम्रो प्रभाव छोड्न सफल भएका छन् । नन्दनले २.५ ओभर बलिङमा १८ रन दिएर महत्त्वपूर्ण दुई विकेट लिए ।

उनको इकोनोमी ६.३५ रहेको थियो । त्यसैगरी रुपेशले ३ ओभर बलिङ गरेर ३१ रन खर्चिए । नन्दनले ब्याटिङतर्फ ‘नटआउट’ चार बलमा १२ रन बटुल्न सफल भए । खेललाई सुपर ओभरमा धकेल्न उहाँको महत्वपूर्ण योगदान रह्यो ।

नन्दन डिभिजन टूअन्तर्गतका एक दिवसीय खेलमा उम्दा प्रदर्शन गरेका खेलाडी हुन् भने रुपेश यसअघि हङकङ सिरिजमा नेपाली टोलीमा थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा दुई खेलाडीको सहभागितासँगै जिल्लाका क्रिकेटप्रेमीहरु उत्साहित भएका छन् ।

नेदरल्यान्डस्सँग निर्धारित २० ओभरको खेलमा १५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५२ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्डस्बीचको त्रिकोणीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज नेपालले घरेलु टोली स्कटल्यान्डको सामना गर्नेछ ।

ग्राहकलाई ठगी गरेमा बैङ्कलाई कारबाही गरिने

महेन्द्रनगर । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलले कुनै पनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन् ।

नेपाल राष्ट्र बैङ्क जनकपुर कार्यालयको आयोजनामा नेपाल उद्योग वाणिज्य महासङ्घ र बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलमा आज उनले सर्वसाधारणको सम्पत्ति जोगाउने र बैङ्कको पैसा धेरै मानिससम्म पुर्याउनेमा आफ्नो ध्यान रहेको बताए ।

ग्राहकलाई समस्यामा पार्ने वा विभिन्न बहानामा ठगी गरेको पाइए सो बैङ्कलाई बिना कुनै छुट तुरुन्त कारबाही गर्ने उनको भनाइ छ । धनुषाका व्यापारीहरुले विगतमा बैङ्कहरुले धितो राखी ऋण लिएका ऋणीहरुलाई विभिन्न जटिल परिस्थिति उत्पन्न गरी धितो लिलाम गरेको गुनासो गरेपछि गभर्नर पौडेलले यस्तो चेतावनी दिएका हुन् ।

सो छलफलमा व्यवसायीहरुले ऋण लिन आउने साना व्यापारी तथा किसानलाई बैङ्कले वास्ता नगर्ने गरेको गुनासो गरेका थिए । छलफलमा बैङ्कका प्रतिनिधिहरुले मधेश प्रदेशमा ऋण लिएर तिर्न नसक्नेको सङ्ख्या धेरै भएको जानकारी दिएका थिए ।

धनी र गरिब बीचको आर्थिक खाडल कम गर्नु आफ्नो प्रमुख प्राथमिकता भएको गभर्नर पौडेलको भनाइ छ । “मौद्रिक नीति वित्त नीतिको मातहतमा हुनुपर्छ । सुपरिवेक्षण क्षमता बढाएर अर्थतन्त्र चलाउनुपर्छ,” उनले भने, “त्यसैले कम नियम र ज्यादा सुपरिवेक्षणमै मेरो जोड छ ।”

बैङ्कको पैसा सीमित धनी व्यक्तिको हातमा केन्द्रित नभई साना व्यवसायी र सर्वसाधारणसम्म ऋणका रूपमा पुग्नुपर्ने गभर्नर पौडेलले विचार व्यक्त गरे ।

छलफलमा बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले प्रस्तुत सुझावहरूलाई नीति निर्माणमा प्राथमिकताका साथ समावेश गरिने र यस कार्यक्रमले सहयोग पुग्ने उल्लेख गरे ।

कार्यक्रममा सहभागी उद्यमीहरूले व्यवसाय सञ्चालनमा भोगिरहेका समस्या, वित्तीय पहुँच र कर्जाको सहजताजस्ता विषयमा आफ्ना विचार राखेका थिए ।

पहिरोले मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध

चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै गएको पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको छ ।

मुग्लिङ–नारायणगढ सडक खण्डको तुइन खोलामा ठूलो पहिरो खसेको हो । पहिरो खुलाउन कम्तिमा ४ घण्टाभन्दा बढी समय लाग्ने अनुमान चितवन प्रहरीले गरेको छ ।

म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण

बन्दीपुर। तनहुँको म्याग्दे गाउँपालिकाले विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गरेको छ । गाउँपालिकाले ४८ वटा घर सम्बन्धित परिवारहरूलाई हस्तान्तरण गरेको हो । ‘नमूना आवास कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले सातै वडाका घरविहीन वा जोखिमयुक्त घरमा बस्न बाध्य परिवारहरूलाई आवास निर्माण गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार पहिलो चरणमा आर्थिक वर्ष २०८०-८१ मा सङ्घीय सरकारको समपूरक कोष र गाउँपालिकाको बराबरी हिस्साबाट एक करोड बजेट विनियोजन गरिएको थियो । उक्त बजेटमध्ये रु ८१ लाख ४३ हजार ३९६ मा म्याग्दे मूलबाराही निर्माण सेवाले ठेक्का सम्झौता गरी १६ वटा घर निर्माण गरेको हो ।

त्यसैगरी, चालु आर्थिक वर्षमा रु तीन करोड नौ लाखको समपूरक बजेटबाट थप ३२ वटा घर निर्माण सम्पन्न गरिएको छ । यसका लागि एक करोड २० लाख सङ्घीय सरकारले र बाँकी रकम गाउँपालिकाले विनियोजन गरेको हो । पासा शुक्ला जेभीले दुई करोड ७३ लाख ५९ हजार ३७४ मा ठेक्का सम्झौता गरी ती घर निर्माण गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका–१ मा सात, वडा नं २ मा सात, वडा नं ३ मा ६, वडा नं ४ मा आठ, वडा नं ५ मा ६, वडा नं ६ मा ६ र वडा नं ७ मा आठवटा घर निर्माण गरिएका छन् ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सम्बन्धित वडाको सिफारिसका आधारमा विपन्न नागरिकलाई घर उपलब्ध गराइएको जानकारी दिए। उनका अनुसार निर्माण गरिएका घरहरू १० वर्षसम्म बेचबिखन गर्न, बैंकमा धितो राख्न वा अन्यलाई भाडामा दिन नपाइने व्यवस्था गरिएको छ ।

जग्गा नभएकालाई छरछिमेकीले जग्गा निःशुल्क पास गरिदिएका छन्भने केही लाभग्राहीसँग आफ्नै जग्गा छ । वडा नं ७ हर्कपुरका सुकमान श्रेष्ठले गाउँपालिकाले गाउँमै सुविधा सम्पन्न घर निर्माण गरिदिँदा आफू अत्यन्त खुसी भएको बताए।

वडा नं २ जामुनेकी विष्णुमाया सुनारले आफ्नो आयले कहिल्यै घर बनाउन नसक्ने अवस्थामा गाउँपालिकाले आफ्नै घर बनाइदिएर जीवनभरको सपना पूरा गरिदिएको बताइन्। यस्तै, वडा नं ४ धोद्रेका लक्ष्मण परियारले आफूजस्तो सम्पत्तिविहीनलाई निःशुल्क घर र घरमै खानेपानीको व्यवस्था गरिदिँदा गाउँपालिकाप्रति आभार प्रकट गरे ।

जी–७ बाट चाँडै बाहिर निस्कनु इजरायल–इरान युद्धविरामसँग ‘कुनै सम्बन्ध छैन’ : ट्रम्प

क्यालगेरी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडामा भएको जी–७ शिखर सम्मेलनबाट आफ्नो चाँडै प्रस्थानको इजरायल र इरानबीचको सम्भावित युद्धविरामसँग ‘कुनै सम्बन्ध नभएको’ भन्दै फ्रान्सका राष्ट्रपतिले अन्यथा सुझाव दिनु ‘गलत’ भएको बताएका छन् ।

“प्रचार खोज्न फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले इजरायल र इरानबीचको ‘युद्धविराम’ मा काम गर्न म क्यानाडामा भएको जी–७ शिखर सम्मेलनबाट वासिङ्टन डिसीमा फर्किन गएको कुरा गलत रूपमा भन्नुभयो”, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, “गलत ! उहाँलाई थाहा छैन किन म अहिले वासिङ्टन जाँदैछु, तर यसको निश्चित रूपमा युद्धविरामसँग कुनै सम्बन्ध छैन । त्योभन्दा धेरै ठूलो कुरा हो । जानाजानी होस् वा होइन, इमानुएलले सधैँ यसलाई गलत ठान्नुहुन्छ । प्रतीक्षा गर्नुहोस् !”

म्याक्रोनले संयुक्त राज्य अमेरिका इरानसँग कूटनीतिक सम्झौता गर्न तयार रहेको बताएका थिए ।
“बैठक र छलफलको प्रस्ताव आएको थियो”, म्याक्रोनले जी–७ शिखर सम्मेलनको साइडलाइनमा पत्रकारहरूलाई भने, “यदि संयुक्त राज्य अमेरिकाले युद्धविराम ल्याउन सक्छ भने, यो धेरै राम्रो कुरा हो ।”

अमेरिकी सहयोगी इजरायल र इरानले लगातार पाँचौँ दिन गोलाबारी गरेपछि ट्रम्प जी–७ सम्मेलनबाट एक दिनअघि नै प्रस्थान गरेका थिए ।

औद्योगिक प्रजातन्त्रका नेताहरूले सोमबार इजरायल–इरान द्वन्द्वबाट सुरु गरेर मध्यपूर्वमा ‘तनाव कम गर्न’ आह्वान गर्दै इजरायललाई ‘आफ्नो रक्षा गर्ने अधिकार छ’ र दुवै पक्षका नागरिकहरूको सुरक्षा गर्न आवश्यक छ भनी जोड दिएका छन् ।

आफ्नो प्रस्थानअघि सहयोगी जी–७ नेताहरूसँगको समूहमा ट्रम्पले भने, “म सकेसम्म चाँडो फर्कनुपर्छ । मेरो इच्छा छ कि म भोलिसम्म रहन सक्थेँ, तर उनीहरूले बुझ्छन्, यो ठूलो कुरा हो ।”