`

भक्तपुरमा दसैँका लागि च्याङ्ग्रा ल्याइयो

भक्तपुर । दसैँका लागि मुस्ताङ हुँदै भक्तपुरमा च्याङ्ग्रा ल्याइएको छ । सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा ती च्याङ्ग्रा राखिएको हो । गत वर्षको तुलनामा यस वर्ष च्याङ्ग्रा मूल्य पनि बढेको छ ।

भक्तपुरका साथै काठमाडौंँ, ललितपुर, काभ्रलगायत क्षेत्रका बासिन्दा च्याङ्ग्रा लिन भक्तपुर आउन थालेका छन् । व्यापारीले प्रतिकिलो जिउँदो च्याङ्ग्रा रु एक हजार ३०० सम्ममा बिक्री गरिरहेका छन् । गतवर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु एक हजार ५० मा बिक्री भएको थियो ।

रामेछापका च्याङ्ग्रा व्यापारी हिमलाल श्रेष्ठले गतवर्ष भन्दा यसवर्ष मुस्ताङको घारमा महँगोमा किन्नु परेकाले यहाँ पनि मूल्य बढेको बताए । सल्लाघारी चौरमा च्याङ्ग्रा बिक्री गर्दै उनले भने, “चीनबाट मुस्ताङसम्म ल्याइएका च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरिद गर्दा प्रतिगोटा रु ४० देखि ४५ हजारसम्म तिुर्न परेकाले यसवर्ष महँगो भएको हो ।”

च्याङ्ग्रा ल्याउँदा मासु जोखेर नभई सानो र ठूलो मिलाएर गोटा गन्तीबाट खरिद गर्नुपर्ने बताउँदै श्रेष्ठले सानो र ठूलोको एउटै मूल्य तिरेर ल्याउनु पर्ने र यहाँ किलोमा बिक्री गगर्नु परेकाले उपभोक्तालाई महँगो पर्ने गरेको उल्लेख गरे ।

व्यापारी रमेश खड्काले पनि च्याङ्ग्रा प्रतिकिलो रु एक हजार ३५० सम्ममा बिक्री गरिरहेको जनाउँदै मुस्ताङमा बढी मूल्य दिरेर खरिद गरिएकाले यसवर्ष महँगोमा बिक्री गर्नुपरेको बताए ।

च्याङ्ग्रा ल्याउँदा यसवर्ष विभिन्न ठाउँमा करिब रु ३० हजार कर तिरेको जनाउँदै खड्काले सल्लाघारीमा ठाउँ लिएबापत भक्तपुर नगरपालिकालाई प्रतिव्यापारीले रु २५ हजार कर तिर्नुपरेको बताए ।

नेपाली पौडी टोली एसियाली एक्वेटिक्स च्याम्पियनसिपका लागि भारत जाँदै

काठमाडौँ । एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११औँ संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली भारतको अहमदाबाद जाने भएको छ ।

यही असोज १२ गतेदेखि २५ गतेसम्म हुने उक्त प्रतियोगितामा ११ पुरुष र पाँच महिला खेलाडीले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन महर्जन, अभिभ प्रधान, रेवन्तबहादुर श्रेष्ठ, जाडेन श्रेष्ठ, निर्णय थापा, अथर्व सिंह र वसिष्ठराज शाहीले प्रतिस्पर्धा गर्नेछन् । महिलामा आर्या महर्जन, टिशा महर्जन, अदिप्शा वैद्य, श्रेणु महर्जन र भैनवी श्रेष्ठले खेल्नेछन् ।

प्रशिक्षकमा शङ्कर कार्की, अफिसियलमा दीपकसागर सिंह महर्जन, नविना श्रेष्ठ, सुमन महर्जन र इन्द्रजित राजभण्डारी तथा निर्णायकमा विष्णु खड्का क्षेत्री र अनिश महर्जन रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ र नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले आज यहाँ आयोजित एक कार्यक्रममा सबै खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् । नेपाली टोली यही असोज १० गते भारततर्फ प्रस्थान गर्नेछन् ।

काठमाडौं महानगरले राख्यो विभिन्न चोकमा ‘हाइ-मास्ट’ लाइट (तस्बिरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौँको विभिन्न चोकमा ६२ वटा ‘हाई-मास्ट’ लाइट जडान कार्य सुरु गरेको छ ।

तीन वर्षदेखि विभिन्न कारणले रोकिएको उज्यालो महानगर योजना अन्तर्गत महानगरको करिब १० करोडको लागतमा ६२ वटा हाई मास्ट लाइट जडानको गरेको हो ।

जसअन्तर्गत अहिले सम्म सोह्रखुट्टे चोक, दरबारमार्ग लगायत १२ स्थानमा लाइट बाली सकेको छ । दशैं अघि नै बाँकी सबै लाइट बाल्ने तयारीमा रहेको महानगरले बताएको छ ।

यसका साथै करिब ८५ करोडको स्ट्रीट लाइट खरिद तथा जडानको काम पनि अगाडी बढेको र यसै वर्षभित्र काठमाडौँ महानगर पूर्ण उज्यालो हुने अपेक्षा समेत महानगरले गरेको छ ।

विश्व पारा एथलेटिक्समा प्रभा र हिमाल सहभागी

काठमाडौँ । विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । भोलिदेखि १९ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने प्रतियोगितामा समान एक पुरुष र एक महिला खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् ।

पुरुषमा हिमाल अर्यालले एफ–५५ क्याटगोरीको सटपुटमा प्रतिस्पर्धा गर्नेछन् । महिलमा प्रभा आङदेम्बेले टी–४७ क्याटगोरीको लङ जम्पमा खेल्ने छिन् । अफिसियलमा पारा एथलेटिक्स सङ्घ नेपालका अध्यक्ष ओमनाथ सिवोकाटी तथा व्यवस्थापकमा सचिव साङबु भोटे रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै विदाई गरेका छन् । अध्यक्ष सिवाकोटी बाहेकको टोली भोलि भारत प्रस्थान गर्नेछ । अध्यक्ष सिवाकोटी भने केही दिनपछि जाने कार्यक्रम रहेको बताइएको छ ।

नेवानिका अध्यक्ष अधिकारीलाई निलम्बन र कारवाही गर्न ‘जेनजी’ कर्मचारीको माग

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई तत्काल निलम्बन गरी छानबिन र कारबाही गर्न निगमका जेनजी कर्मचारीहरुले माग गरेका छन् । जेनजी कर्मचारीहरुले उनीमाथि प्रशासनिक अनियमितता र अधिकारको दुरुपयोग गरेको आरोप लगाउँदै तत्काल बर्खास्त गर्न माग गरेका हुन् । जेनजी नेपाल वायुसेवा निगमको नामबाट प्रधानमन्त्रीको निजी सचिवालयमा दर्ता गरिएको निवेदनमा अधिकारीको कार्यशैलीप्रति आपत्ति जनाउँदै छानबिन तथा कारवाहीको माग गरेका छन् ।

नागरिक उड्डयन प्राधिकरणले असक्षम ठहर गरी पटक–पटक निलम्वन तथा बर्खात भएका अध्यक्ष अधिकारीले गरेको निगम दोहनप्रति गम्भीर हुन माग गरेका छन् । कार्यकाल सकिदै गर्दा अधिकारीले दुईटा वाइडबडी जहाजको इन्जिन मर्मतको लागि आठ अर्बको टेन्डर प्रक्रियामा नगई कम्पनीसँग गोप्य सम्झौता र वार्ता गरी अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रिया सुरु नगरी रोल्स रोयस कम्पनीसँग सिंगापुरमा बैठक गरे र एनडीए गरी अनुसार यो प्रक्रियालाई अपारदर्शी बनाइनुका साथै कानूनी र पारदर्शी प्रक्रिया पालना नगरिएको लगायतका १० विषयमा छानविन गर्नुपर्ने निवेदनमा उल्लेख गरेको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय टिकट बिक्रीमा अमुक ट्रभल एजेन्सीसँगको मिलेमतो गर्ने गरेको आरोप पनि उनीमाथि कर्मचारीले लगाएका छन् । निगमको प्रतिनिधिको रुपमा अन्तराष्ट्रिय स्टेशनहरुमा जनरल सेल्स एजेन्ट नियुक्ति भएको तर त्यसमा करोडौँ घोटाला हुने गरेको आरोप पनि कर्मचारीको छ । जीएसए आवश्यक नभएको ठाउँमा समेत जीएसए नियुक्तिको प्रकृया अगाडि बढाएको आरोप पनि जेनजी कर्मचारीको छ ।

भारतको लद्दाखमा छुट्टै राज्यको माग गर्दै चर्कियो प्रदर्शन

काठमाडौं । भारतको लद्दाखमा छुट्टै राज्यको माग गर्दै प्रदर्शन चर्किएको छ । लद्दाखलाई स्वायत्त राज्य कायम गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएका युवा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।

झडपका क्रममा कम्तीमा चार जनाको मृत्यु भएको इन्डिया टूडेले उल्लेख गरेको छ । घटनामा कम्तीमा ७० जना घाइते भएका समाचारमा उल्लेख छ ।

झडपपछि आक्रोशित प्रदर्शनकारीले आगजनी र तोडफोड गर्न थालेको भारतीय सञ्चारमाध्यमहरूले जनाका छन् ।

प्रदर्शनकारीले बुधबार लेह लद्दाखमा रहेको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीले एउटा गाडीमा समेत आगजनी गरेको अधिकारीहरूलाई बताएका छन् । हिंसा नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र लाठिचार्ज गरेको थियो ।

हिंसा चर्किएपछि जम्मू कश्मीरका पूर्वमुख्यमन्त्री महबुबा मुफ्तीले केन्द्र सरकारले अगाडि बढेर जम्मू कश्मीरका जनताको असन्तोषको कारण पत्ता लगाउनुपर्ने प्रतिक्रिया दिएका छन् ।

 

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीमाथि आपराधिक मुद्दा

सियोल । दक्षिण कोरियाले बुधबार महाभियोगमा परेका पूर्वराष्ट्रपति युन सुक येओलकी पत्नी किम केओन हीविरुद्ध आपराधिक मुद्दा दायर गरेको छ । मार्सल ल मार्फत पतिलाई पदबाट हटाइएपछि पहिलोपटक पूर्व प्रथम महिलाले अदालतमा मुद्दाको सामना गरेकी हुन्।

उनलाई गत अगस्टमा स्टक हेरफेर र भ्रष्टाचार लगायतका आरोपमा पक्राउ गरिएको थियो । उनी गार्डहरूको बीचमा सियोल केन्द्रीय जिल्ला अदालतमा उपस्थित भएकी थिईन् । गाढा सूटमा, कपाल पछाडि बाँधिएको, छातीमा कैदी नम्बर ४३९८ लेखिएको ब्याजसहित उनी अदालतमा देखिएकी छिन् ।

पहिचान र पेशा पुष्टि गर्ने क्रममा उनले संक्षिप्त जवाफ दिएकी छिन्, “म बेरोजगार छु ।” उनले जन्ममिति दिए पनि जूरी ट्रायलको अनुरोध अस्वीकार गरेकी हुन् ।

यो मुद्दाले दक्षिण कोरियामा पहिलोपटक पूर्वराष्ट्रपति र पूर्व प्रथम महिलालाई एकैसाथ आपराधिक कारबाहीमा ल्याएको हो । विशेष गरी स्टक हेरफेरमा संलग्नता र सन् २०२२ मा वामपन्थी पादरीसँग डायर ह्यान्डब्याग लिएको विवादपछि किम लामो समयदेखि अनुसन्धानको दायरामा छिन् ।

उनी माथि युनको पार्टीको सांसद चयन प्रक्रियामा हस्तक्षेप गरेको र निर्वाचन कानून उल्लङ्घन गरेको आरोपसमेत छ । कानूनी विज्ञहरूका अनुसार यो मुद्दाले दुवैलाई संसदीय चुनावमा प्रभाव पार्ने भूमिकाका लागि जवाफदेही बनाउन सक्छ ।

राष्ट्रपतिको हैसियतमा युनले संसद्ले पारित गरेका किमविरुद्धका तीन विशेष अनुसन्धान विधेयकलाई भिटो प्रयोग गरेका थिए । अन्तिम भिटो नोभेम्बरमा जारी गरेपछि एक सातामै उनले मार्सल ल घोषणा गरेका थिए ।

प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा सुदूरपश्चिम कांग्रेस

काठमाडौं ।  नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशले प्रतिनिधिसभा पुनःस्थापनाको माग गरेको छ । बुधबार प्रदेशस्तरीय नेताहरूको बैठकले प्रतिनिधिसभा पुनःस्थापना गरेर संविधान संशोधन गर्नुपर्ने माग गरेको हो । ‘राष्ट्रिय राजनीतिको निकास दिनका लागि संविधानभित्रैबाट राजनीतिक दल, सरकार र जेनजी युवाहरूबीच राष्ट्रिय सहमति गर्नुपर्छ । त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना गर्ने र पुनःस्थापित प्रतिनिधिसभामार्फत संविधान संशोधन गरेर आमनिर्वाचनमा जानुपर्छ,’ सुदूरपश्चिम कांग्रेसले भनेको छ ।

सुदूरपश्चिम कांग्रेसले यस प्रक्रियामा जेनजी युवाहरूलाई समेत सहभागी गराउनु पर्ने बताएको छ । बैठकमा कांग्रेस सुदूरपश्चिम प्रदेशका कार्यवाहक सभापति लोकराज अवस्थी, केन्द्रीय सदस्य सुशीला मिश्र, नृप वड, मुख्यमन्त्री कमलबहादुर शाह, राष्ट्रियसभा सदस्य नारायण दत्त मिश्र, कैलाली सभापति नारायण दत्त भट्ट, कञ्चनपुर सभापति पदम बोगटीलगायत सहभागी थिए ।

इरानको कार्पेट उद्योग सङ्कटमा, युवाहरूको रुचि घट्दै

तेहरान । इरानको सांस्कृतिक गौरव मानिने हस्तनिर्मित कालीन (कार्पेट) उद्योग आज गम्भीर सङ्कटको सामना गर्दैछ । दशकदेखि अरबौं डलर आम्दानी दिने यो परम्परागत व्यवसाय अब मात्र थोरै देशहरूमा सीमित बनेको छ । आर्थिक सङ्कट र उपभोक्ताको बदलिँदो रुचिका कारण यो उद्योग पतनको दिशातर्फ अगाडि बढिरहेको छ ।

सन् १९९० को दशकमा वार्षिक दुई अर्ब डलरभन्दा बढी निर्यात गर्ने इरानी कार्पेट उद्योग अहिले घटेर करिब ४० लाख डलरमा सीमित भएको छ, जुन ९५ प्रतिशतभन्दा बढीको गिरावट हो ।

सन् २०१८ मा अमेरिकाले प्रतिबन्ध पुनः लगाएपछि, इरानले आफ्नो सबैभन्दा ठूलो कार्पेट बजार गुमायो । त्यसअघि अमेरिकी बजारमा इरानी हस्तबुनिएका कालीनको ७० प्रतिशत हिस्सा थियो ।

इरानको राष्ट्रिय कालीन केन्द्रकी प्रमुख, जहरा कामानीका अनुसार,“अमेरिकाको निर्दयी र कठोर प्रतिबन्धका कारण हामीले आफ्नो प्रमुख बजार गुमायौं ।”

वैश्विक प्रतिस्पर्धा

सन् २०१७ मा यो उद्योगले अझै ४०० लाख डलरभन्दा बढीको निर्यात गरिरहेको थियो, तर हालको तथ्याङ्क अनुसार सन् २०२४/२५ मा निर्यात घटेर ४१.७ लाख डलरमा झरेको छ । इरानका कार्पेटहरू अहिले जर्मनी, संयुक्त अरब इमिरेट्स, जापान र चीनजस्ता देशमा निर्यात हुन्छन् ।

तर यता, भारत, नेपाल, पाकिस्तान र चीनले सस्तो दरमा कालीन उत्पादन गरी बजार कब्जा गरिरहेका छन् । केहि विदेशी कालीन त इरानमै पुनः आयात भइरहेका छन् ।

उद्योगमा आश्रित लाखौं जीवन

कामानीका अनुसार, इरानमा झण्डै २० लाख मानिस यो उद्योगमा निर्भर छन् । तिनीहरूले दैनिक केबल केही डलर आम्दानी गर्ने गर्दछन् ।

व्यापारी हामेद नबीजादेहले भने,“भारत, टर्कीए र चीनबाट इरानमा कालीन आयात भइरहेको छ, जसका कारण घरेलु बिक्रीमा ठूलो गिरावट आएको छ ।”

पर्यटनमा गिरावट

पहिले–पहिले विदेशी पर्यटकहरूले स्मरणीय उपहारको रूपमा इरानी कालीन किन्थे । तर हाल अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रनु र यात्रा चेतावनीहरूका कारण पर्यटन क्षेत्र पनि प्रभावित भएको छ ।

“आजकाल पर्यटकहरूलाई हाम्रो कार्पेट मन नपर्न सक्छ । मूल्य पनि धेरै महँगो लाग्छ,” नबीजादेहले भने । “३०–४० हजार डलर पर्ने रेशमी कालीन आजको युरोपेली ग्राहकले किन्ने अवस्था छैन ।”

अर्थनीति र सरकारी समर्थनको अभाव

विशेषज्ञहरूका अनुसार उद्योगमा गिरावटको मूल कारणमा अन्तर्राष्ट्रिय प्रतिबन्ध, विदेशी मुद्रासँग सम्बन्धित त्रुटिपूर्ण नीति, उच्च उत्पादन लागत र सरकारी बेवास्ता जिम्मेवार छन् । व्यापारमन्त्री मोहम्मद अताबकले भने,“हामीले केही अन्तर्राष्ट्रिय बजार गुमाएका छौं, तर नयाँ व्यापार सम्झौताहरू र नीतिहरूको सहायताले उद्योगलाई पुनः जिवन्त बनाउन सकिन्छ ।”

“कालीनहरू आधुनिक आन्तरिक सजावटको रुचिअनुसार बनाउनुपर्ने हुन्छ । सामाजिक सञ्जालमार्फत ब्रान्डिङ र अनलाइन ग्राहकहरू तान्ने प्रयास गर्नु आवश्यक छ ।”

घरेलु बजार पनि धराशायी

डलरको तुलनामा इरानी मुद्रा अत्यधिक कमजोर बनेपछि घरेलु ग्राहक पनि हस्तबुनिएको कालीन किन्न असमर्थ छन् । ३१ वर्षीया विवाहको तयारीमा रहेकी शीमा भने,“मैले सधैं आफ्ना दाइजोमा हातले बुनेको कालीन चाहन्थें, तर परिवारले किन्ने सक्दैन । त्यसको सट्टा हामीले कारखानामा बनेको कालीन किनेका छौं ।”

“आजकाल धेरै परिवारहरू सस्तो मूल्यका यान्त्रिक कालीन रोजिरहेका छन्, या त केहीले त कालीन नै किन्न छोडेका छन्,” उनले थपे ।

 

नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईले दिए राजीनामा

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्षबाट राजीनामा दिएका छन् । उनले बुधबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा राजीनामा पेश गरेका हुन् । बैठकले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ ।

साथै, महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गरिएको छ ।

आयोजक कमिटीको संयोजकका रुपमा वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई तोक्ने तयारी रहेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।

रुस: युक्रेनमा आक्रमण जारी राख्नबाहेक ‘कुनै विकल्प छैन’

मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई ‘कागजी बाघ’ भनेको दाबीलाई अस्वीकार गर्दै क्रेमलिनले बुधबार युक्रेनमा सैन्य आक्रमण जारी राख्नुबाहेक अरू विकल्प नभएको घोषणा गरेका छन्।

ट्रम्पले युक्रेनले आफ्नो सम्पूर्ण भूभाग फिर्ता लिन सक्ने भन्दै रुसलाई असफल अर्थतन्त्र भएको ‘कागजी बाघ’ का रूपमा चित्रण गरेको एक दिनमै मस्कोले प्रतिक्रिया दिएको हो ।

“राष्ट्रपति भ्लादिमिर पुटिनले तोकेको लक्ष्य प्राप्त गर्न र हाम्रो राष्ट्रिय चासो सुरक्षित गर्न विशेष सैन्य अभियान जारी राख्नेछौँ”, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “यो हामी हाम्रो वर्तमान र भविष्यका लागि मात्र होइन, आउने पुस्ताका लागि गरिरहेका छौँ । त्यसैले, हामीसँग कुनै विकल्प छैन ।”

पेस्कोभले ट्रम्पको टिप्पणी अस्वीकार गर्दै रुसले द्रुत वृद्धि र लगातार मुद्रास्फीति बीच सुस्त अर्थतन्त्रको चुनौती भोगिरहेको स्वीकार गरे। तर, उनले जोड दिए, “रुसले आफ्नो समष्टि आर्थिक स्थिरता कायम राखेको छ, यद्यपि केही क्षेत्रमा तनाव र समस्याहरू छन् ।”

उनले मस्को–वासिङ्टन सम्बन्ध सुधारका लागि गरिएको प्रयासलाई पनि नकारात्मक रूपमा मूल्याङ्कन गर्ने । जनवरीमा ट्रम्प ह्वाइट हाउस फर्केपछि सुरु भएको मेलमिलाप प्रयासको परिणाम ‘शून्यको नजिक’ भएको बताए ।

“यो प्रक्रिया सुस्त छ, अत्यन्तै सुस्त”, पेस्कोभले भने ।

मस्कोले युक्रेन द्वन्द्वभन्दा पर गएर अमेरिकासँग कूटनीतिक र आर्थिक सहयोग विस्तार गर्ने प्रयास गरिरहेको भए पनि परिणाम अझै न्यून देखिएको उनले स्वीकार गरेका छन् ।

दक्षिण सुडानमा स्वास्थ्य अभियान सुरु, लाखौंलाई लाभ हुने अपेक्षा

दक्षिण सुडान । दक्षिण सुडान सरकारले विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्र बाल कोषको सहकार्यमा चार दिन लामो स्वास्थ्य अभियान सुरु गरेको छ । यस अभियानले करिब दुई करोड एक लाख बालबालिका र एक करोड बीस हजार वयस्कलाई पोलियो र स्किष्टोसोमियासिस भन्ने रोगबाट जोगाउने लक्ष्य राखेको छ ।

स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूले देशका ४० जिल्लामा घरघर पुगेर पाँच वर्ष मुनिका बालबालिकालाई खोप दिनेछन् । यसैगरी, विद्यालय जाने उमेरका बालबालिका र जोखिममा रहेका समुदायलाई स्किष्टोसोमियासिस रोगको रोकथामका लागि प्राजिक्वान्टेल नामको औषधि वितरण गरिनेछ ।

स्वास्थ्य मन्त्री सराह क्लीटो रियलले भने,“हामी सबै अभिभावक र समुदायलाई आफ्ना बालबालिकालाई खोप लगाउन र अभियान सफल बनाउन पूर्णरूपमा सहभागी हुन आग्रह गर्छौं । यस अभियानले स्रोतको सदुपयोग गर्दै दुईवटा प्रमुख रोगलाई एकै पटक नियन्त्रण गर्ने अवसर प्रदान गरेको छ ।”

पोलियो भाइरसजन्य रोग हो जसले बालबालिकालाई पक्षाघात जस्ता गम्भीर समस्या निम्त्याउन सक्छ । दक्षिण सुडानका दुर्गम क्षेत्रहरूमा खोप लगाउन कठिनाईका कारण पोलियोका सङ्क्रमण बढिरहेका छन् । स्किष्टोसोमियासिस भने पानीबाट सर्ने परजीवीजन्य रोग हो, जसले शरीरमा संक्रमण गरी स्वास्थ्यमा गम्भीर असर पु¥याउँछ ।

स्वास्थ्य मन्त्रालयले यो अभियानले दुर्गम क्षेत्रहरूमा स्वास्थ्य सेवा पुर्याउन र समुदायमा रोगको चेतना फैलाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ । यसले लामो समयसम्म रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

दक्षिण सुडानमा स्वास्थ्य सेवा प्रणाली अझै कमजोर रहेको अवस्थामा यस किसिमका अभियानहरूले जनस्वास्थ्यमा ठूलो सुधार ल्याउन सक्छन् । दुई रोगलाई एकसाथ लक्षित गरी गरिएको यस अभियानले समय र स्रोत दुवैको सदुपयोग गरेको स्वास्थ्य विज्ञहरूले बताँएका छन् ।

 

नख्खु कारागारबाट भागेका शिवशिखर सहकारीका अध्यक्ष शर्मा पक्राउ

काठमाडौं । जेनजी आन्दोलनको मौका छोपेर नख्खु कारागारबाट भागेका शिवशिखर बहुउद्देश्यीय सहकारी भक्तपुरका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शर्मालाई आज ललितपुरको सानेपाबाट पक्राउ गरेको हो । ५० वर्षीय शर्मा भारतीय प्रहरीको सहयोगमा २०८० असार दोस्रो साता मुम्बईबाट पक्राउ परेका थिए ।

उपत्यकाका तीन वटै जिल्लासहित देशका विभिन्न ठाउँमा शाखा रहेको शिवशिखरले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सीआईबीमा उजुरी परेको थियो । उनीमाथि १४ अर्ब रूपैयाँभन्दा बढी बचत हिनामिनाको आरोप छ ।

उनले २०७७ मा भक्तपुरमा सञ्चालित शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारीलाई गाभेर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था खोलेका हुन् । मोरङमा सञ्चालित तुलसी सहकारी संस्था पनि उनले नै खोलेका हुन्। आर्थिक अपचलनका कारण सबै सहकारी डुबेपछि उनी भागेर भारत गएका थिए ।

तुइनखोलामा १६० मिटर बढी ढाक्ने गरी पहिरो : पोखरा–काठमाडौँ यातायात समेत प्रभावित

गण्डकी । मुग्लिन–नारायणगढ खण्डको तुइनखोला क्षेत्रमा गएको पहिरोको प्रभाव पोखरा– काठमाडौँ सडक खण्डमा पनि पर्ने गरेको छ । उक्त पहिरोका कारण मुग्लिन खण्डमा सवारीसाधनको अत्याधिक चाप बढ्न थालेसँगै त्यसको प्रभाव पोखरा–काठमाडौँ आवतजावत चल्ने सवारीसाधनमा परेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए ।

उक्त पहिरोका कारण सडकमा सवारीसाधनको जाम हुन थालेपछि यात्रुहरूलाई समयमा नै गन्तव्यमा पु¥याउन नसकिएको उनले बताए । लगातार पहिरो जान थालेपछि मुग्लिन–नारायणगढ सडक खण्ड बन्द गरी पहिरो पन्छाउने काम भइरहेको छ ।

उनले भने, ‘मुग्लिन–नारायणगढ खण्डमा सडक यातायात प्रभावित भएसँगै नेपालका पश्चिमी क्षेत्रमा जाने सवारीसाधन पोखरा हुँदै जान थालेका कारण पनि सवारीसाधनको चाप अत्याधिक छ ।’ पोखरा–काठमाडौँ खण्डमा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीअन्तर्गत नियमित ४०० को संख्याका यात्रुवाहक सवारीसाधनले सेवा दिइरहेको उनले जानकारी दिए । दशैँको टीकाको दिन नजिकिँदै गर्दा ठूलो संख्यामा सर्वसाधारण आवतजावत गर्ने भए पनि सडक अवरुद्ध हुँदा आवतजावतमा कठिनाइ भएको उनले बताए ।

सडकका दुवैतर्फबाट २-२ वटा गरी ४ वटा उपकरणले बिहान ६ बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले बताए । उनका अनुसार अपरान्ह ३ बजेसम्ममा सडकको दुवैतर्फ गरी करिब ६० मिटर मात्रै पहिरो पन्छाइएको छ । मंगलबार अपरान्ह खसेको भयंकर पहिरोले झण्डै १६० मिटर सडक क्षेत्र पुरिएको छ भने २० मिटर अग्लो पहाड नै बनेको उनले बताए ।

मोर्टरको तार जोड्दा करेन्ट लागेर श्रीमान–श्रीमतीकै मृत्यु

रुपन्देही । पानी तान्ने मोर्टरबाट करेन्ट लाग्दा रूपन्देहीको गैडहवामा एक दम्पतीको ज्यान गएको छ । गैडहवा गाउँपालिका–६ कानीजहवा निवासी ७५ वर्षीय रामरतन सैठवार र उनकी पत्नी ६८ वर्षीया अकालीसिंहको आज बिहान मृत्यु भएको हो । खेतमा लगाएको तरकारीमा सिँचाइका लागि मोर्टरबाट पानी तान्ने क्रममा उनीहरूको करेन्ट लागेर मृत्यु भएको हो ।

ह्याण्ड पाइपबाट पानी तान्न मोर्टरको तार जोड्दा करेन्ट लागेर दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जानकारी दिए । सुरूमा पत्नीलाई करेन्ट लागेको र छुटाउन जाँदा रामरतनलाई पनि करेन्टले भेटेको कार्कीले जानकारी दिए । मोटरको तार पावर सकेटमा जोड्ने टुपिन नहुँदा नाङ्गो तार जोड्ने क्रममा करेन्ट लागेको प्रहरीको भनाइ छ । दुवै जनाको शव पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवा पठाइएको छ ।

दशैंको रौनक हराउँदै: बजारमा सुस्ती, व्यापारीमा निराशा

काठमाडौँ । दशैं सुरु भइसकेको छ। देशभरि चाडपर्वको माहोल देखिन थालेको छ। परम्परागत रूपमा राजधानीका ठूला बजार र मलहरूमा यस समयमा ग्राहकको भीड धान्नै नसक्ने अवस्था हुने गर्थ्यो। तर यसपालि त्यस्तो रौनक देखिँदैन। भीडभाड बढ्नुको सट्टा बजारहरू खुलेको तर सुनसान देखिन्छन्, पसलमा ग्राहकको कमी छ र व्यापारीहरू निराश देखिन्छन्।

“सबैभन्दा न्यून बिक्री”

महाबौद्धको थोक बजारमा २० वर्षदेखि व्यवसाय गर्दै आएकी नबिना प्रधान श्रेष्ठ भन्छिन्,
“मैले अहिलेसम्म गरेको व्यवसायमा अहिले सम्मकै न्यून बिक्री भइरहेको छ। करिब ६०–७० प्रतिशतसम्म घटेको छ। राजनीतिक अस्थिरता, यातायात समस्या र आर्थिक मन्दी सबैले असर पारेका छन्। तर सबैभन्दा ठूलो असर भने चीनसँगको सिमाना बन्द हुँदा परेको हो, किनभने हामी सबैजना चीनकै सामानमा भर पर्छौँ।” नबिनाका अनुसार हाल उनीहरू अघिल्लो वर्षको बाँकी स्टक बेचेरै बसेका छन्।

नयाँ सामान ल्याउने सुविधा नभएकाले बजारमा कपडादेखि अन्य सामानसम्मको अभाव छ।
“ल्यान्ड ट्रान्सपोर्टेशन छैन, समुद्रमार्गबाट ल्याउन सकिँदैन। हवाईमार्गले ल्याउँदा भने सामान अत्यन्तै महँगो पर्छ—करिब ६ डलरसम्म बढ्छ,” उनले बताइन्।

स्थानीय उत्पादनले बचाए पनि प्रतिस्पर्धा गर्न नसक्ने अवस्था

चीनबाट सामान नआएपछि ग्राहकहरू स्थानीय उत्पादनतर्फ धकेलिएका छन्। तर गुणस्तरमा कमी हुँदा प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन।
नबिना भन्छिन्, “स्थानीय उत्पादनलाई मानिसहरूले अब्जर्व त गरेका छन्, तर तिनीहरूको फिनिसिङ राम्रो छैन। प्रतिस्पर्धा नै गर्न सक्दैन। विकल्प नभएर मात्र स्थानीय उत्पादनतिर लागेका हुन्।”

“सामानै आएको छैन”

महाबौद्धकै अर्का व्यापारी मनोजकुमार गुप्ता पनि यस्तै चिन्तित छन्।
“अघिल्लो वर्षको तुलनामा यो वर्ष व्यापार एकदमै घटेको छ। चीनसँगको सिमाना बन्द भएपछि सामान नै आएको छैन। कहिले खुल्छ भन्ने थाहा छैन। त्यसैले धेरै गाह्रो भएको छ,” उनले भने।
गुप्ताका अनुसार ग्राहक पनि परिस्थितिलाई बुझेर बजार आउनै छाडेका छन्।
“मानिसहरू नयाँ डिजाइन, नयाँ स्टाइल खोज्छन्। तर हाम्रो हातमा त पुरानै सामान छ। त्यसैले उनीहरूलाई लोभ्याउनै गाह्रो भएको छ,” उनले बताए।

हवाईमार्गबाट आएको थोरै सामान सामान्यभन्दा करिब रु।१५० ले बढी पर्छ। तर त्यो पनि नियमित आपूर्ति हुने कुनै निश्चितता छैन। “सायद जाडो यामसम्म केही आउला, तर दशैंमा त आउने सम्भावना नै देखिँदैन,” उनले थपे।

मलहरूमा पनि सुस्ती

राजधानीका ठूला मलहरूमा पनि परिस्थिति त्यस्तै छ। काठमाडौं मलहरूमा भेटिएका व्यापारी दीपक खनाल भन्छन्,
“यो वर्ष दशैंमा कारोबार धेरै नै कम छ, अघिल्लो वर्षभन्दा झन्डै ५० प्रतिशतले घटेको छ। कारण धेरै छन्—आन्दोलन, युवाहरू विदेश गएका, ग्राहकको क्रयशक्ति घटेको। सप्लाई त खासै समस्या छैन, तर ग्राहक नै कम छन्।”

उनका अनुसार मलभित्र प्रतिस्पर्धा असाध्यै बढेको छ।
“अरू पसलहरूसँग प्रतिस्पर्धा गर्न निकै गाह्रो भएको छ। चीनको सामान हवाईमार्गबाट ल्याइए पनि महँगो पर्छ। अहिले दशैंमा सेल्स टार्गेट पुरा गर्ने सबभन्दा गाह्रो वर्ष यही हो,” उनले भने।

सिभिल मलका व्यापारी प्रकाश थापा भन्छन्,
“यहाँ पनि करिब उस्तै हो—कारोबार कम छ। न्भल श् आन्दोलन, ग्राहक विदेश गएका, आर्थिक मन्दी—सबैले असर गरेको छ। चीनको सिमाना बन्द हुँदा खासै फरक परेको छैन, किनभने सामान वैकल्पिक बाटो हुँदै आइरहेको छ। तर मल्ल नै खाली जस्तो देखिन्छ, अघिल्लो वर्षजस्तो चहलपहल छैन।”

बिगत ३० वर्षकै न्यूनतम चहलपहल

राष्ट्रिय व्यापार संघका अध्यक्षले भनेका छन्,
“बिगत ३० वर्षमा यस वर्षकै दशैंमा सबैभन्दा कम मानिसहरूको चहलपहल देखिएको छ।”

परम्परा भत्किँदै

दशैं नेपालीको सबैभन्दा ठूलो चाड भए पनि यस वर्ष राजधानीका प्रमुख बजार र मल्लहरूमा परम्परागत चहलपहल हराएको छ। राजनीतिक अस्थिरता, चीन सिमाना अवरोध, आन्दोलन, युवाहरूको वैदेशिक रोजगारीतर्फको मोह, र आर्थिक मन्दीले गर्दा बजारको उत्साह ओझेल परेको छ।
व्यापारीहरू चेतावनी दिन्छन्—यदि तत्काल आपूर्ति सहज बनाउने र स्थानीय उत्पादनको गुणस्तर सुधार गर्ने नीतिगत पहल भएन भने, दशैंको रौनक केवल स्मृतिमा सीमित हुन सक्छ।

महिला क्रिकेट विकास समितिबाट संरचनागत विकासदेखि अन्तर्राष्ट्रिय तयारीसम्मका एजेण्डा पारित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गत महिला क्रिकेट विकास समितिको चौंथो बैठक विभिन्न एजेण्डा पारित गर्दै सकिएको छ । समितिका संयोजक प्रदीप मजगैयाँको अध्यक्षतामा बसेको बैठकले महिला क्रिकेटको संरचनागत विकासदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता तयारीसम्मका विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै सम्पूर्ण योजना क्यान समक्ष प्रस्ताव गर्ने निर्णय गरेको छ ।

बैठकले आउँदो ICC Women’s T20 World Cup Global Qualifier का लागि उच्चस्तरीय High Performance Camps, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र खेलाडीहरूको सुविधा विस्तार गर्नुपर्नेमा जोड दिएको छ । यस्तै, ICC U–19 Women’s World Cup २०२७ को तयारीलाई लक्षित गर्दै दीर्घकालीन योजना अघि बढाउने निर्णय भएको छ ।

त्यस्तै समितिले तल्लोस्तरमा महिला क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्ने, यस अन्तर्गत विद्यालय-कलेजस्तरका प्रतियोगिता सञ्चालन, जिल्ला क्रिकेट संघहरूसँग सहकार्यमा घरेलु प्रतियोगिता विस्तार र U–15 Talent Hunt Programme मार्फत नयाँ प्रतिभा पहिचान गर्ने योजना अघि सारिएको छ ।

बैठकले महिला क्रिकेट बिकासको लागि, प्रशिक्षकहरुको ब्यबस्था, महिला क्रिकेट बिकास अधिकृतको ब्यबस्था र बार्षिक क्यालेन्डर समेत निर्माण गरी कार्यन्वयन गर्ने निर्णय गरेको छ । सम्पूर्ण निर्णय नेपाल क्रिकेट संघको बोर्ड बैठकमा अनुमोदन र कार्यान्वयनको लागि पेस गरिने समितिले जानएको छ ।

माओवादी फागुन २१ को निर्वाचनको पक्षमा, विशेष महाधिवेशनको एजेण्डा तय

काठमाडौं । नेकपा माओवादी केन्द्रले घोषित मितिमै निर्वाचन गराउन सरकारसँग माग गरेको छ । आज (बुधबार) को स्थायी कमिटीको बैठकले फागुन २१ मै निर्वाचन गर्न सरकारसँग माग गर्ने निर्णय भएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । तोकिएकै मितिमा निर्वाचन गराउनका लागि पार्टीले आवश्यक भूमिका खेल्ने पनि बताएका छन् । जेनजीसहित परिवर्तनकारी शक्तिहरूसँग संवाद गर्ने र समाजवादी मोर्चा र विचार मिल्ने शक्तिहरूसँग एकताको लागि प्रभावकारी पहल गर्ने निर्णय पनि बैठकले गरेको छ ।

विशेष महाधिवेशनसहित केन्द्रीय समितिका एजेण्डा तय
नेकपा माओवादी केन्द्रले मंसिरमा विशेष महाधिवेशन गर्नेसहितका एजेण्डा तय गरेको छ । स्थायी समिति बैठकले भोलि बस्ने केन्द्रीय समिति बैठकका लागि विशेष महाधिवेशनसहितका एजेण्डा तय गरेको हो । असोज ५ गते बसेको पदाधिकारी बैठकमा माओवादी अध्यक्ष पुष्पककमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव गरेका थिए ।

गाजामा इजरायली बमबारी, १५ प्यालेस्टिनीको मृत्यु

गाजा पट्टी । इजरायली सेनाले बुधबार गाजामा घर र शिविरहरूमा आक्रमण गर्दा कम्तीमा १५ प्यालेस्टिनी मारिएको गाजाको नागरिक सुरक्षा प्रवक्ताले बताएका छन् ।

इजरायलले गाजा सहरमा ठूलो हवाई र भूमि आक्रमण सुरु गरेको छ । आक्रमणपछि लाखौँ मानिसलाई सहर छाड्न बाध्य पारेको छ । केही मानिसले केन्द्रमा शरण लिएको बेला हवाई आक्रमणले प्रहार गरेको प्रवक्ता महमुद बासलले बताए ।

उनका अनुसार नगरपालिकाको गोदाम र फिरास बजार नजिक विस्थापितहरूको त्रिपालमा गरिएको तीनवटा हवाई आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भयो । तीमध्ये धेरै बालबालिका थिए । अन्य आक्रमणमा अल–सहाबा स्ट्रिटको अपार्टमेन्टमा दुई र अल–यर्मोक बजार क्षेत्रमा एक जनाको मृत्यु भएको छ ।

मध्य गाजाको नुसिरातमा हेलिकप्टर आक्रमणले चार जनाको ज्यान लियो भने नजिकैको अर्को घरमा हवाई प्रहारमा एक जनाको मृत्यु भएको नागरिक सुरक्षाले जनाएको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार करिब दुई वर्षयता इजरायली कारबाहीले ६५ हजार तीन सय ८२ प्यालेस्टिनी मारिएका छन् । मारिनेमा अधिकांश सर्वसाधारण रहेका छन् । संयुक्त राष्ट्रसङ्घले यसलाई भरपर्दो तथ्याङ्क मानेको छ ।

आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा एक हजार दुई सय १९ इजरायली मारिएका थिए ।

मिडिया प्रतिबन्ध र पहुँच कठिनाइका कारण एएफपीले यी विवरण स्वतन्त्र रूपमा प्रमाणित गर्न सकेको छैन ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घको अनुसन्धानले गाजामा इजरायलको कारबाहीलाई ‘नरसंहार’ भनेपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले त्यसलाई अस्वीकार गर्दै ‘विकृत र झुटो’ ठहर गरेको छ ।

गाजाको ठूलो भाग अहिले ध्वस्त भएको छ र संयुक्त राष्ट्रसङ्घ समर्थित निकायले गत महिना यस क्षेत्रको केही भागमा आधिकारिक रूपमा अनिकाल घोषणा गरेको थियो ।

अर्थमन्त्री खनालद्वारा क्षतिग्रस्त आन्तरीक राजश्व कार्यालको निरीक्षण

विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक मितव्ययिता सम्बन्धित मन्त्रिपरिषद् बैठकद्वारा गरिएका निर्णय सबै क्षेत्रमा लागू हुने जानकारी दिएको छ । मन्त्रिपरिषद्ले यही असोज ५ गते आर्थिक मितव्ययिता सम्बन्धी विभिन्न निर्णय गरेको थियो । ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड एवं आगजनी भएको आन्तरिक राजस्व कार्यालयको आज निरीक्षण गर्दै उनले सो जानकारी दिएको हो ।

सो अवसरमा मन्त्री खनाललाई सो कार्यालयका प्रमुख केशव उप्रेतीले क्षतिको विवरण हस्तान्तरण गरेको थियो । मन्त्री खनालले निरीक्षण गरिरहेका समयमा कर्मचारीहरुले सवारीसाधन राख्न बनाइएको टहराबाट सेवाग्राहीलाई सेवा प्रदान गरिरहेका थिए ।

अर्थमन्त्री खनाल एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरमा हुने राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा सहभागी हुने मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार मन्त्री खनाल आज अपराह्न उद्योगी एवं व्यापारीसँग मोरङ व्यापार सङ्घ विराटनगर हुने छलफलमा पनि सहभागी हुने कार्यक्रम छ ।

प्रदेश खारेज हुँदैन : अर्थमन्त्री खनाल

विराटनगर । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले प्रदेश खारेज गर्ने एजेण्डा यो सरकारको नभएको बताएका छन् । आज (बुधबार) विराटनगर विमानस्थलमा पत्रकारसँग प्रतिक्रिया दिँदै अहिलेको सरकार संविधान सम्मत गठन भएकाले तत्काल प्रदेश खारेज गर्ने विषय प्राथमिकतामा नपर्ने बताएका हुन् ।

नयाँ सरकार गठन भएर नोट बन्दी गर्ने विषय चर्चा भइरहेको अवस्थामा कुनै पनि नोट बन्दी गर्ने विषयमा अहिलेसम्म छलफल नै नभएको स्पष्ट पारे । ‘नयाँ सरकार गठन भएसँगै पाँच सय र हजारको नोट बन्दी गर्ने भन्ने हल्ला चलिरहेको छ, नि’ भनी पत्रकारहरूले सोधेको प्रश्नमा मन्त्री खनालले भने, ‘नेपाली रुपैयाँ ५०० र १००० को नोट प्रतिबन्ध लगाउने बारेमा छलफल नै भएको छैन ।’

भारतीय सरकारले घटाएको जिएसटीको असर नेपालमा समेत पर्न सक्ने आकलन गरिएको छ । त्यसको असर पर्ने भन्दै ब्यवसायीहरूबाट कुराहरू आइरहेकोले त्यस बारेमा छलफल गरेर अघि बढ्ने उनको भनाई छ । उनले यस बारेमा अध्ययन कार्य भइरहेकोले उद्योग व्यवसायलाई असर गर्ने अवस्थामा सुधार हुने जिकिर गरेका छन् ।

नेतृत्व छाड्नेबारे प्रचण्ड : छलफल भइरहेको छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र चलिरहेको नेतृत्व परिवर्तनको बहस महाधिवेशनसम्म जाँदा सबै हल हुने दावी गरेका छन् । पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि संक्षिप्त प्रक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले भने, ‘नेतृत्व परिवर्तनबारे छलफल भइरहेको छ, महाधिवेशनसम्म जाँदा सबै हल हुन्छ ।’

माओवादीमा प्रचण्डलाई उपमहासचिव जनार्दन शर्माले राजीनामा माग्दै नेतृत्व छाड्न दबाब बढाएका छन् । प्रचण्डले मंसिरमा सबै कमिटी भङ्ग गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव राखेका छन् ।

कास्कीमा सार्वजनिक सेवा प्रवाह क्रमशः सहज हुँदै

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा कार्यालयमा तोडफोड र आगजनी भएपछि रोकिएको सेवा प्रवाहलाई क्रमशः सञ्चालनमा ल्याएको छ । बुधबारदेखि नयाँ नागरिकता, राहदानी वितरण र भारतीय पेन्सन सिफारिससम्बन्धी सेवा पुनः थालनी भएको कार्यालयले जनाएको छ ।

यसअघि गत शुक्रबारदेखि लेखनाथमा रहेको इलाका प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्तासँगै यसअघि दर्ता भई प्रिन्ट भएर आएका परिचपयपत्रको वितरण पनि सुरु गरिएको थियो । ‘जेनजी’ प्रदर्शन सकिएको केही दिनमै शान्ति सुरक्षा, मुद्दाको म्याद थप र दैनिक प्रशासनिक कार्य सुचारू गरिएकामा रोकिएका अन्य सेवा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको कार्यालयले जनाएको छ ।

गत भदौ २४ को प्रदर्शनयता राहदानी विभागबाट प्रिन्ट भई आएका राहदानी वितरण गर्न सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए । कार्यालय तोडफोड र आगजनीका क्रममा प्रदर्शनकारीले साथमा लगेका केही राहदानी फिर्ता आएकाले सम्बन्धित सेवाग्राहीलाई राहदानी लिन आउन सूचित गरिएको उनको भनाई छ ।

प्रतिलिपी नागरिकता, गैरआवासीय नागरिकता, राहदानी आवेदन, नाबालक परिचयपत्रलगायतका सेवा यथाशीघ्र सञ्चालनमा ल्याइने प्रजिअ शर्माले बताए । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा सञ्चालित अभियानका क्रममा विवरण दर्ता गरी प्रिन्ट भएका परिचयपत्र वितरणका लागि भने पछि सूचित गरिने उनको भनाई छ ।

आन्दोलनका क्रममा उक्त राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाका लागि आवश्यक पर्ने विद्युतीय उपकरण आगजनीमा परी नष्ट भएकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट नयाँ उपकरण माग गरी सेवा सुचारु गरिएको हो ।

आगजनी गरिएको कार्यालयलाई सरसफाइ र मर्मतसम्भार गरेर सेवा सञ्चालनमा ल्याइएको हो । हाल दुईवटा कार्यकक्षबाट सेवा प्रवाह भइरहेको र अन्य कार्यकक्ष मर्मतको काम भइरहेको कार्यालयले जनाएको छ ।

‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते भएको तोडफोड, आगजनी एवं लुटपाटबाट कार्यालयमा ठूलो क्षति पुगेको छ । कार्यालयको भौतिक संरचना कुरूप बनेको छ । कम्प्युटरलगायत महत्वपूर्ण उपकरण जलेका तथा लुटपाट भएका छन् । नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, संस्था दर्ता, स्थानीय प्रशासन तथा शान्ति सुरक्षालगायतका सेवासम्बन्धी सम्पूर्ण अभिलेखहरू जलेर नष्ट भएको कार्यालयले जनाएको छ ।

प्रर्दशनकारीले जिल्ला प्रशासन कार्यालयसहित प्रदेश राजधानी पोखरामा रहेका तीनै तहका सरकार मातहतका अधिकांश कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । आगजनीमा परेका पोखराका अन्य सरकारी कार्यालय र निकायले पनि सार्वजनिक सेवा प्रवाहलाई क्रमशः सहज बनाउँदै लगेका छन् ।

कर्मचारीलाई भयरहित ढंगले काम गर्ने वातावरण बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । निजामती कर्मचारीका ट्रेड युनियनहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्दै सार्वजनिक प्रशासनलाई भयरहित ढंगले काम गर्ने र कर्मचारीलाई सुरक्षित वातावरण बनाउन ध्यानाकर्षण गराएका छन् । नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी दाहाल, युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवालसहित ६ वटा युनियनका अध्यक्षहरूले प्रधानमन्त्रीलाई भेटेर पछिल्लो समय निश्चित पदाधिकारी तोकेर राजीनामा माग्ने, कानून बमोजिम चलेका संस्थाहरु विघटन गर्न दबाब दिनेजस्ता कार्य भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरूले भयरहित अवस्थामामा राष्ट्रसेवकले काम गर्न नसके निर्वाचनमा खट्ने मनोबल समेत नहुने भन्दै उनीहरुले सरकारले अभिभावकत्व देखाउनु पर्ने बताएका छन् । यसअघि उनीहरूले मुख्यसचिवलाई पनि भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

हेर्नुस् ध्यानाकर्षण पत्र

साल्ट ट्रेडिङ कर्पोरेसन झापामा २२८ मेट्रिक टन रासायनिक मल मौज्दात

झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड झापा कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चरणमा दुई हजार ११३ मेट्रिक टन रासायनिक मल वितरण गरेकोे छ । तीमध्ये एक हजार ३५५ मेट्रिक टन युरिया र ७५८ मेट्रिक टन डिएपी मल छन् । मल स्थानीय सहकारी र कृषि संस्थामार्फत वितरण गरेको कार्यालयका प्रमुख विष्णुप्रसाद न्यौपानेले जानकारी दिए । पालिकाले तोकेका सहकारी र कृषि संस्थाहरुले लगेको मल किसानलाई बिक्री गर्दै आएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा धानखेतीका लागि एक हजार ३०५ मेट्रिक टन युरिया र ७५८ मेट्रिक टन डिएपी मल विक्री वितरण गरिएको उनले बताए । सोही अवधिमा चिया खेतीका लागि ५० मेट्रिक टन युरिया मल वितरण गरेको कार्यालयले जनाएको छ । उनले धान खेतीका लागि पालिकाहरुले १४० सहकारी र कृषि संस्थालाई मल वितरणका लागि अधिकृत विक्रेता सिफारिस गरेका थिए । पहिलो चरणमा धान खेतीका लागि प्राप्त डिएपी मलमध्ये हाल कार्यालयमा २२८ मेट्रिक टन मल मौज्दात छ ।

चियाका लागि आएको मलमध्ये ६०० मेट्रिक टन युरिया र ४०० मेट्रिक टन डिएपी मल भने कार्यालयमा मौज्दात रहेको उनले जानकारी दिए । चिया तथा कफी विकास बोर्डमा दर्ता भएका चिया उत्पादक कम्पनी तथा संस्थालाई रासायनिक मल उपलब्ध गराउने प्रावधान रहेको उनको भनाई छ ।

शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति

कञ्चनपुर । जेनजी प्रदर्शनका क्रममा शुक्लाफाँटा नगरपालिकाले पनि आर्थिक क्षति बेहोर्नुपरेको छ । तोडफोड र आगजनीका कारण नगरपालिकासहित वडास्तरका कार्यालयमा रु तीन करोड २५ लाख एक हजार ५५ बराबरको क्षति पुगेको छ ।

नगरपालिकाको मुख्य प्रशासनिक भवन जोगाउन सफल भएको प्रवक्ता लालबहादुर ऐरले जानकारी दिए। नगरपालिकाको जिन्सी शाखाका प्रमुख कृष्ण कार्कीका अनुसार सबैभन्दा बढी क्षति वडा नं ८ मा देखिएको छ । जहाँ मात्रै रु ५५ लाख ९६ हजार ८७१ बराबरको सम्पत्ति, कागजपत्र, फर्निचर, कम्प्युटर, अभिलेखलगायत नष्ट भएको छ ।

यसैगरी, वडा नं १ मा रु ४६ लाख ७४ हजार ९५९, वडा नं ७ मा रु ४५ लाख तीन हजार ७२, वडा नं ३ मा रु २५ लाख १० हजार ४९४ र वडा नं ५ मा रु २३ लाख १० हजार सात सय ७१ बराबरको क्षति भएको छ ।

अन्य वडामा पनि लाखौँको क्षति भएको छ । वडा नं ६ मा रु १८ लाख ८७ हजार ८१४, वडा नं १२ मा रु १५ लाख ५१ हजार ४९६, वडा नं २ मा रु १५ लाख ७३ हजार १४९, वडा नं ९ मा रु १५ लाख २२ हजार ५९१, वडा नं ४ मा रु १५ लाख १२ हजार ७८, वडा नं ११ मा रु १३ लाख ४३ हजार ५८९ र वडा नं १० मा रु सात लाख ४७ हजार ६८२ बराबरको क्षति पुगेको नगरपालिकाले सङ्कलन गरेको क्षतिको विवरणमा उल्लेख गरिएको छ ।

कार्यालय भवन, फर्निचर, कम्प्युटर तथा अभिलेख तोडफोड र आगजनीबाट ध्वस्त भएपछि तत्काल वडाबाट सेवा प्रवाह पूर्णरूपमा अवरुद्ध भएको छ । हाल अस्थायी रूपमा मुख्य कार्यालयमार्फत वडास्तरका सेवा दिन सुरु गरिएको भए पनि स्रोत साधनको अभावले सेवाग्राहीलाई समयमा सेवा पु¥याउन कठिनाइ भइरहेको जनप्रतिनिधिहरुको भनाई रहेको छ ।

आन्दोलनका कारण कार्यालय मात्र नभई स्थानीयवासी पनि प्रत्यक्ष प्रभावित भएका छन् । पहिले वडास्तरमै सेवा पाउने नागरिक अब नगरपालिकाको मुख्य कार्यालय धाउन बाध्य छन् । नगरपालिकाले क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माणका लागि सङ्घीय सरकारसँग बजेट व्यवस्थापन गरिदिनका लागि आग्रह गरेको छ ।

“मुख्य कार्यालयमा अभिलेख जोगाउन सकिएको भए पनि वडास्तरमा ठूलो क्षति पुगेको छ”, शाखा प्रमुख कार्कीले भने, “जिल्लामै आन्दोलनका नाममा सबैभन्दा ठूलो क्षति यस नगरपालिकाले व्यहोरेको छ ।” शुक्लाफाँटा नगरपालिकाको प्रशासनिक संरचना र सेवाग्राहीको सुविधा पुनःस्थापित गर्न सरकारले चाँडै पहल गर्नुपर्ने स्थानीयवासीको माग गरेका छन् ।

मतदाता नामावली संकलनको बाटो खुल्यो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेपछि मतदाता नामावली संकलनको बाटो खुलेको छ ।

मतदाता नामावलीमा नाम छुटेकाहरुले अब आफ्नो नाम दर्ता गराउन सक्नेछन् । तर त्यसअघि निर्वाचन आयोगले त्यस सम्बन्धी निर्णय गरेर मतदाता नामावली संकलनको मिति तोक्ने छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले भने, ‘अध्यादेश जारी भएपछि कानुन बमोजिम मतदान गर्न योग्यता पुगेकाहरुको नामावली संकलनको लागि बाटो खुलेको छ । त्यसका लागि निर्वाचन आयोगले आवश्यक निर्णय गर्ने छ ।’

जेनजी युवा आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले ताजा जनादेशका लागि आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा मतदाता नामावलीमा नाम लेखाउन पाइँदैन ।

तर, राजनीतिक परिवर्तनका लागि भूमिका निर्वाह गरेका थुप्रै युवाहरुको योग्यता पुगेर पनि मतदाता नामावलीमा नाम दर्ता नभएकाले उनीहरूका लागि नाम दर्ता गराउने कानुनी गाँठो फुकाउन अध्यादेश जारी भएको हो ।

मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधनका लागि अध्यादेश ल्याइएको हो ।

उक्त व्यवस्थाका कारण रोकिने मतदाता नामावली खुलाउनका लागि अध्यादेश ल्याइएको आयोगले जनाएको छ ।

मुख्य सडकको दुर्दशा : चाडबाडमा घर फर्किनेलाई सास्ती

काठमाडौं । बर्खाले भत्किएका र खाल्डा परेका सडक समयमै मर्मत सम्भार नहुँदा यो बर्ष पनि चाडबाडको मुखमा सर्वसाधरणले यात्रामा समस्या भोग्नु परेको छ । काठमाडौं उपत्यकाबाट दशैं मनाउनेहरुलाई सुरक्षित रुपमा घर पुगिने हो कि होइन भन्ने चिन्ता छ । वीपी राजमार्गमा जेनतेन गाडी चलिरहेको भए पनि अहिले नारायणगढ–मुग्लिन सडकले चालक र यात्रु सबलाई दुःख दिइरहेको छ । कतिबेला पहिरो झरेर कहाँ अलपत्र पर्नुपर्ने हो ? सडकमाथिबाट खस्ने ढुङ्गाले कसलाई लाग्ने हो मनमा सँधै चिन्ता लिएर यात्रा गर्नुपर्ने वाध्यता छ ।

नारायणगढ–मुग्लिन सडकको पहिरो पन्छाउन सुरु
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने काम आज –बुधबार) बिहानबाट थालिएको छ । पहिरो पन्छाउन आज दिनभर लाग्न सक्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । मंगलबार दिउँसो करिब ४ः५० बजेतिर ठूलो पहिरो खसेका कारण सडक आवागमन दुईतर्फी नै बन्द भएको छ ।

त्यसैले सबै सवारी धनी, चालक एवम् यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकमा मंगलबार खसेको भयंकर सुक्खा पहिरोले सडक समेत भासिने जोखिम बढेको चितवनका एसपी गोविन्द पुरीले बताए ।

एसपी पुरीले भने, ‘तुइनखोलामा अत्यन्तै ठूलो पहिरो खसेको छ । सुक्खा पहिरो खसेका कारण सडक नै भासिने जोखिम बढेको छ । जसका कारण तत्कालै सडक खुल्ने कुनै सम्भावना छैन ।’

पहिरो खसे लगत्तै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ । सडकमा सवारी साधनहरुको लामो जाम देखिन्छ । सवारी साधनहरुको लाइन कुरिनटारसम्मै देखिन्छ ।
समयमै ध्यान नदिंदा मुख्य सडककै दुर्दशा
देशका मुख्य राजमार्ग पहिरोले भत्किँदा र ठुल्ठूला खाल्डाखुल्डी हुँदा सवारीसाधन चलाउन समस्या भएको छ । जसकारण दशैंका बेला गाउँघर फर्केका सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

पृथ्वी राजमार्ग, नारायणगढ–बुटवल सडकखण्ड, अरनिको राजमार्ग, पासाङल्हामु राजमार्ग, पूर्व–पश्चिम राजमार्गका ठाउँठाउँमा खाल्डाखुल्डी परेकाले सवारीसाधनमा यात्रा गर्नेले सास्ती खेपेका हुन् । बर्खामा गएको पहिरोले सडक कटान गर्दां तथा माटोढुंगा थुप्रिँदा सडक एकतर्फी सञ्चालन हुने गरेका छन् । जसकारण लामो दूरीका सडकमा यात्रु गर्ने घण्टौं जाममा पर्नुपरेको छ ।

अहिले लामो दूरीका सबैजसो सडक कहीँ न कहीँ भत्किएका छन् । सडकमा खाल्डाखुल्डी तथा एकतर्फ हुँदा दशैँका घर फर्कने यात्रुहरूले दुःख पाइरहेका छन् । वर्षात भर्खर सकिएकाले सडक तत्काल मर्मत गर्न कठिन भइरहेको सडक विभागले जनाएको छ । विभागका प्रवक्ता शिवप्रसाद नेपालले यो समयमा सबैजसो सडक एकतर्फी रूपमा सञ्चालन भएको जानकारी दिए । उनले भने, ‘अहिले सबैजसो सडकमा खाल्डाखुल्डी छन्, कहीँकतै पुर्ने काम पनि भइरहेको छ, पानी परिरहेका कारण समयमै सडक मर्मत गर्न नसकिएको हो ।’

सडक अप्ठ्यारो भएर यात्रा गर्न कठिन हुने भएपछि महँगो भए पनि सर्वसाधारणले हवाई यात्रा रोज्न थालेका छन् । लामो दूरीको सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेको र समयमै गन्तव्यमा पुग्न नसकिने अवस्था भएपछि हवाई यात्रा गर्नेहरूको संख्या बढेको हो । दशैँ सुरु भएसँगै अन्य दिनको तुलनामा हवाई यात्रा गर्नेको संख्या दोब्बर छ ।

यो समयमा वायुसेवा कम्पनीहरूले अन्य समयमा भन्दा बढी उडान भर्न थालेका छन् । दशैँ सुरु भएयता बुद्ध एयरले दैनिक एक सय ४२ भन्दा बढी उडानमार्फत नौ हजारभन्दा बढी यात्रुलाई सेवा दिइसकेको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले १५ वटा जहाजमार्फत उडान भर्दै आइरहेको जानकारी दिए । यो वर्ष दसैँका टु–वे नै यात्रुको चाप उस्तै रहेको उनको भनाइ छ ।

बेहाल नारायणगढ–बुटवल सडक
नारायणगढ–बुटवल सडकखण्ड निर्माण कार्य सुरु भएको साढे दुई वर्षमा आठ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । ठेकेदार कम्पनीकै ढिलासुस्तीले पूर्व–पश्चिम जोड्ने राजमार्ग चौडा तथा मर्मत कार्य समयमै हुन नसकेको हो । लामो समयदेखि निर्माण कार्य सुरु भएको सडकखण्ड नबन्दा दशैँको वेला घर फर्कने यात्रुहरूले निकै सास्ती खेप्नुपर्ने भएको छ । करिब तीन घण्टामा पार गर्न सकिने यो सडक खण्ड अहिले पार गर्न पाँच घण्टाभन्दा बढी समय लाग्छ ।

चितवन नारायणगढदेखि बुटवलसम्म पुग्दा कैयौँ खाल्डाखुल्डी छन् । ०७५ फागुनमा सुरु भएको यो आयोजनाको म्याद ०७९ साउनमा सकिँदै छ । तर, ४२ महिनाको समय सीमा राखेर निर्माण कार्य भइरहेको यो सडक खण्डको प्रगति जम्मा आठ प्रतिशत मात्रै भए पनि एक अर्ब ३० करोड रुपैयाँ खर्च भइसकेको छ । सडक निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडलाई दिइएको छ ।

ठेकेदार कम्पनीले दुई खण्ड छुट्याएर सडक चौडा पार्ने कार्य सुरु गरेको थियो । जसमा पूर्वी–खण्डअन्तर्गत नारायणगढदेखि दाउन्नेसम्म ६५ किमि र पश्चिम–खण्डमा दाउन्नेदेखि बुटवलसम्म ४८ किमि सडक पर्छ । तर, दुवै खण्डको कार्य प्रगति हेर्दा जम्मा आठ प्रतिशत मात्रै काम भएको सडक विभागले जनाएको छ ।

विभागका प्रवक्ता शिवप्रसाद नेपालले यो वर्ष अत्यधिक वर्षा भएकाले सडक चौडा तथा मर्मत कार्य ढिलो भएको बताए । हाल २२ वटा पुल र एक सय २० वटा कल्भर्टको काम भइरहेको छ । बुटवलतर्फ १३ किमि मात्रै सडक चौडा पारिएको छ । दुवै खण्डतर्फ ४५ जना चिनियाँ र पाँच सय हाराहारी नेपाली कामदार खटिएका छन् । आगामी चार महिनाभित्र सडक साइटका बिजुलीका पोल हटाउने लक्ष्य राखिएको छ ।

सडक असुरक्षित छ : सरोज सिटौला
दशैँ सुरु भएसँगै आमसर्वसाधारण गाउँघर फर्कने क्रम बढेको छ । गन्तव्यमा सहजै पुग्न उनीहरू भरपर्दो सडक–सवारीको खोजीमा छन् । तर, हाम्रो सडक हेर्दा यात्रा गर्न मन नलाग्ने किसिमका छन् । दशैँको मुखमा सडक नबनाउँदा आमयात्रु व्यवसायीहरूले दुःख खेप्नुपर्छ ।

दशैंको बेलामा बाहिरिने र उपत्यका भित्रिनेको संख्या उस्तै
हरेक वर्ष घटस्थापनापछि उपत्यका बाहिरिनेको संख्या बढ्छ । यस अवधिमा निकै कम मानिस काठमाडौं प्रवेश गर्छन् । तर, यो वर्ष दशैँ सुरु भएसँगै उपत्यका बाहिरिने र भित्रिनेको संख्या उस्तै छ । घटस्थापना सुरु भएदेखि उपत्यका प्रवेश गर्नेको संख्या पनि बढेको छ । दशैँको वेला बाहिरिने यात्रुहरूको संख्या बढी हुनुपर्नेमा भित्रिनेको संख्या पनि बढेको देख्दा ट्राफिक प्रहरीले संख्याबारे अनुमान गर्न सकेको छैन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १० असोजयता आइतबार साँझसम्म पाँच लाख ९० हजार ९९ जना यात्रु बाहिरिएका छन् । उपत्यका भित्रिनेको संख्या पाँच लाख एक हजार नौ सय छ । दशैैँका वेला उपत्यका भित्रिनेको संख्या बढी हुनुमा वैदेशिक रोजगार हुन सक्ने प्रहरीको अनुमान छ ।

‘जति मानिस उपत्यका बाहिरिएका छन्, त्यति नै संख्यामा भित्रिएका छन्, यो वर्ष कति यात्रुले उपत्यका छाड्छन् भन्ने अनुमान गर्न मुस्किल छ,’ महाशाखाका एसपी सञ्जीव शर्मा दासले भने, ‘विगतका वर्षमा भन्दा यो वर्ष दसैँ मनाउन जानेको संख्या कम हुने हाम्रो अनुमान छ, जति बाहिरिएका छन् उति नै भित्रिएका पनि छन् ।’ उनका अनुसार बिहीबार करिब ६० हजार र शुक्रबार ५० हजार मानिस बाहिरिएका छन् । फूलपातीदेखि यो संख्या दोब्बर हुने अनुमान गरिएको छ ।

साढे ११ किलोमिटर भैंसे–भीमफेदी सडक पार गर्न एक घण्टा
भैंसे–भीमफेदी सडकखण्ड अलपत्र अवस्थामा छ । ११.५ किलोमिटर सडक पुनर्निर्माणको काम एक वर्षअघि सुरु भएको थियो । काठमाडौंबाट हेटौँडा हुँदै तराईका विभिन्न जिल्ला आवतजावतका लागि प्रयोग गरिने यो सडक पुनर्निर्माणको काम अलपत्र हुँदा यात्रुले सास्ती भोग्नु परेको छ । दैनिक पाँच सयभन्दा बढी साना सवारीसाधन आवतजावत गर्ने सडक अलपत्र हुँदा दशैँका लागि काठमाडौंबाट घर फर्किने यात्रुले बढी समस्या भोग्नुपर्ने अवस्था छ ।

साढे तीन घण्टामा काठमाडौं–हेटौँडा यात्रा गर्न सकिने सडक भैँसे–भीमफेदीमा ११.५ किमि अलपत्र हुँदा पाँच घण्टा बिताउनुपर्ने बाध्यता रहेको टाटासुमो चालकहरू बताउँछन् । यो सडकमार्फत तराईका विभिन्न जिल्ला र हेटौँडाबाट सयौँ टाटासुमोमा यात्रुले आवतजावत गर्दै आएका छन् । ‘विगतमा भैँसेबाट भीमफेदी पुग्न २० मिनेट लाग्थ्यो, अहिले सडक भत्काइएको र डाइभर्सनबाट यात्रा गर्नुपर्ने बाध्यताका कारण एक घन्टा लाग्ने गरेको छ,’ टाटासुमोचालक कृष्ण श्रेष्ठले भने ।

नारायणगढ–मुग्लिन सडक यात्रा मौसमको भरमा
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गलाई मुलुकको लाइफलाइनका रूपमा लिने गरिन्छ । तर, यी दुवै राजमार्ग भएर यात्रा गर्न भने निकै जोखिमपूर्ण छ । सामान्य झरीमै सडकमा माथि पहाडाबाट पहिरो खस्ने गर्छ । त्यस बाहेक सडक भासिने अर्को समस्या हो । दुवै सडक खण्डकमा ठाउँठाउँमा भासिएको देख्न सकिन्छ । जसले गर्दा पनि यात्रुले कष्टकर महसुस गर्ने गरेका छन् ।

नदी र पहाडको बीचको सडक भएकाले पनि यो सडक यात्राका लागि जोखिमपूर्ण मानिन्छ । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख भगवानराज थापाले मौसमले साथ दिएमा यो सडक हँुदै यात्रा गर्न सहज रहेको बताए । वर्षा भएमा पहिरो र सडक भासिने समस्या भने कायम रहेको उनको भनाइ छ । नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग सडक केही ठाउँमा भासिए पनि सवारीसाधन आवतजावत भने रोकिएको छैन । तर, अझै पनि पानी पर्ने गरेकाले पहिरोको जोखिम भने कायमै छ ।

 

अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा

दमौली (तनहुँ) ।  यहाँको घिरिङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त ७८ जनाको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको हो ।

स्थानीय अपाङ्गता समन्वय समितिको गत भदौ १९ को बैठकको निर्णय अनुसार चालु आर्थिक वर्षको अपाङ्गता लक्षित कार्यक्रमअन्तर्गत उनीहरुको बिमा गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष राधादेवी अधिकारीले जानकारी दिए । अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउने उद्देश्यसहित स्वास्थ्य बिमा कार्यक्रम अगाडी बढाउन लागिएको अधिकारीको भनाई छ ।

गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य बिमा अभिकर्तालाई सूचना जारी गरी सम्बन्धित वडामा रहेका अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य बिमा प्रक्रिया अगाडी बढाउन अनुरोध गरिसकेको गाउँपालिकाका अधिकृत धुब्रराज लामिछानेले जानकारी दिए ।

स्वास्थ्य बिमा कार्यालय तनहुँमा पालिकाबाट रकम भुक्तानी गर्ने क्रममा सम्बन्धित अपाङ्गता परिचयपत्र, नागरिकता वा जन्मदर्ताको प्रमाणपत्र असोज मसान्तभित्र उपलब्ध गराउन सूचित गरेको उनले बताए ।

उनका अनुसार ‘घ’ वर्गका अपाङ्गता भएका १७, ‘ग’ वर्गका अपाङ्गता भएका ५७ र वर्ग पहिचान नभएका चार जनाको स्वास्थ्य बिमा गरिनेछ । जसअनुसार घिरिङ गाउँपालिका–१ का १७ जना, घिरिङ गाउँपालिका–२ का १४ जना, घिरिङ गाउँपालिका–३ का २० जना, घिरिङ गाउँपालिका–४ का १५, घिरिङ गाउँपालिका–५ का १२ जना रहेका छन् ।

कोदारी पहिरो स्थानीय र व्यापारीहरुलाई सधैंको सास्ती, तस्बिरहरु

काठमाडौँ । नेपाल चीनबीचको प्रमुख व्यापारिक मार्ग बाह्रविसे तातोपानी सडक खण्डमा वर्षौं देखि स्थानीय र व्यापारीहरूले सास्ती भोग्दै आउनु परेको छ ।

देशकै प्रमुख व्यापारिक मार्गको रूप रहेको सो सडकको विभिन्न क्षेत्रमा पहिरो खस्दा लाखौं मालसामान सीमा क्षेत्रमा रोकिनु परेको छ ।
२०७२ सालको भूकम्प र कोरोना महामारी पछि बन्दको अवस्थामा रहेको सो नाका रसुवाको केरुङ नाका बाढीले क्षति पूर्याएसंगै पुन लयमा फर्किएको भए पनि कोदारी पहिरो, दाकलाङ लगायत विभिन्न क्षेत्रमा गएको पहिरोमा कारण निर्धक्क रुपमा यात्रा गर्न सकिने अवस्थामा भने छैन ।

प्रमुख व्यापारी मार्ग भए पनि नेपाल सरकारबाट आवश्यक बजेट विनियोजन नहुँदा हरेक वर्ष पहिरो झेल्नु परेको स्थानीयहरू बताउँछन् ।

भोटेकोशी गाउँपालिकामा २ नं. वडा चौकीडाँडाका स्थानीय कृष्ण बहादुर राईका अनुसार कोदारी पहिरोले हरेक वर्ष असार साउन महिना देखि दुःख दिने, हिउँदको समयमा पहिरो रोकथामका लागि स्थानीय सरकार, सङ्घ र प्रदेश सरकारले खासै ध्यान नदिएको कारण अहिले सुख भोग्नु परेको बताए ।

सो पहिरोले सडकमात्र नभएर ३‌ सय जति घरधुरी समेत जोखिम रहेको उनले जनाए । स्थानीयले हरेक पटक पहिरो रोकथाम र बाटो मर्मतका लागि माग राखे पनि कहीं कतैबाट सुनुवाई नभएको राईले जानकारी दिए ।

स्थानीय अर्जुन धतानेका अनुसार कोदारी पहिरो २०३८ सालबाटै सुरु भएको पनि हाल सम्म प्रभावकारी रूपमा नियन्त्रणको काम नभएको बताए । मुख्य नाका भएको हुनाले सरकारले यसको रोकथाम र नियन्त्रणको काम लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्ने भए पनि हालसम्म त्यस्तो केही नगरेको उनले बताए ।

हरेक वर्ष पहिरोले बाट बन्द हुने अवस्था छ तैपनि स्थानीय, प्रदेश र संघीय सरकारले नहेर उनको गुनासो छ ।

हाल अस्थायी रुपमा पहिरो नियन्त्रण, रोकथाम र सहज रुपमा सडक संचालनका लागि ग्रभेल हाल्ने, पानीका मुहालहरुलाई ट्रयाप गरी सेफ ठाउँमा पठाउने र ढुङ्गा बिछ्याउने काम भई रहेको सडक डिभिजन चरिकोटका सब इन्जिनियर रामकृष्ण रिमालले जानकारी दिए । धेरै पुरानो पहिरो भएका कारण तत्कालै नियन्त्रण गर्न नसकेपनि अहिले अस्थायी रुपमा सडक संचालन र पहिरो रोकथामको काम भई रहेको उनले बताए ।

 

अवरुद्ध तातोपानी–कोदारी राजमार्ग खुलेसँगै भन्सार नाकाबाट सामान आयात सुरु

सिन्धुपाल्चोक । पहिरोका कारण एक महिनाअघिदेखि अवरुद्ध तातोपानी–कोदारी राजमार्ग खुलेको छ । राजमार्ग खुलेसँगै चीनसँगको प्रमुख व्यापारिक ढोका तातोपानी नाका सोमबारदेखि सामान बोकेका कन्टेनरहरू नेपाल भित्रिन थालेका छन ।

कोदारी सडकखण्डको भोटेकोशी गाउँपालिका–२ इकोसहितको चार ठाउँको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । अरनिको राजमार्गको भोटेकोशी गाउँपालिका क्षेत्रका विभिन्न स्थानमा झन्डै ५०० मिटर सडक भासिएको थियो । इकोमा २५० मिटर, डाक्लाङमा ११० मिटर, पान्थलीमा १०० मिटर, लार्चेमा २५ मिटर र घट्टेखोलामा १० मिटर सडक भासिएको थियो ।

महिना दिनभन्दा बढीदेखि रोकिएका केही कन्टेनर मङ्गलबार बेलुकीसम्म भित्रिएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले जानकारी दिए । उनका अनुसार दसँै लक्षितलगायत सामग्री भित्रिएका र आज पनि लोडको काम भइरहेको उनले जानकारी दिए ।

सडक सञ्चालनको अवस्थाबारे बुझ्न सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायतको टोली समेत पुगेको थियो ।

दसैँमा तीन नेपाली चलचित्र प्रदर्शन हुने

काठमाडौँ । दसैँ लक्षित तीन नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् । चलचित्रहरु  ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ , र ‘बलिदान’ प्रदर्शनमा आउने भएका हुन् । यी तीनै चलचित्र आगामी दसैँलाई लक्षित गरी फूलपातीको दिन (असोज १३) देखि नेपालसँगै विदेशमा समेत प्रदर्शन हुने जनाइएको छ ।

चलचित्र ‘माइतीघर’ तामाङ संस्कृतिमा आधारित सामाजिक विषयमा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । मिलन तामाङले निर्देशन गरेका सो चलचित्रमा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपूतलगायतका कलाकारले अभिनय गरेका छन् ।सोही मितिमा प्रदर्शन हुने अर्को चलचित्र ‘हरिबहादुरको जुत्ता’ अभिनेता हरिवंश आचार्यमा केन्द्रित छ । अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेको चर्चित पात्र ‘हरिबहादुर’ लाई यसपटक चलचित्रमा ल्याइएको हो । चलचित्रमा भिन्न हरिबहादुरसँग दर्शक परिचित हुने अभिनेता आचार्यको भनाइ छ ।उनले भने, “हरिबहादुरका रुपमा शृङ्खला र मञ्चमा प्रस्तुत भएको छु । यसपटक चलचित्रमा त्यही पात्रलाई ल्याउँदा फरक गरेको छु । यसपटक हरिबहादुरले हँसाउनेसँगै रुवाउँछ पनि । सामाजिक विकृतिलाई उक्त पात्रले व्यङ्ग्य गरेको छ । यसमा पारिवारिकसँगै देशको अवस्थालाई पनि चित्रण गरेका छौँ । ती सब घटनाक्रम हरिबहादुर पात्रमार्फत देखाएका छौँ ।”

उक्त चलचित्रको पटकथा स्वयम् अभिनेता आचार्यले लेखेका हुन् । निर्देशक दीपेन्द्रकुमार खनाल निर्देशित सो चलचित्रमा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारको अभिनय रहेको छ ।

निर्माता सन्तोष सेनले निर्देशन गरेको चलचित्र ‘बलिदान’मा अभिनेता समीर भट्टको अभिनय छ । भट्टले अभिनय गरेको यो दोस्रो चलचित्र हो । दक्षिण भारतीय चलचित्रझैँ तयार गरिएको यो चलचित्रको कथावस्तु विशेषत द्वन्द्व प्रधान रहेको जनाइएको छ । कथावस्तुभन्दा प्रस्तुतीकरणमा ध्यान दिइएको उक्त चलचित्रमा ऋचा शर्मा, अर्पण थापालगायतका कलाकारले अभिनय गरेका छन् ।

पछिल्ला वर्षहरूमा चाडपर्वमा नेपाली चलचित्र दर्शकको रोजाइमा पर्दै आएका छन् । खासगरी पारिवारिक र सामाजिक विषय केन्द्रित चलचित्रमा दर्शकको बाक्लो उपस्थिति देखिन्छ । सोही कारण यो दसैँमा तीन चलचित्रले प्रदर्शन मिति तय गरेका हुन् । बिदाको समयमा चलचित्रले राम्रो प्रतिक्रिया पाएमा त्यसको व्यापार बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन हुने क्रम बढेको चलचित्र निर्माता तथा नेपाल चलचित्र सङ्घका पूर्वअध्यक्ष प्रदीपकुमार उदयले बताएका छन् ।

“कथावस्तु राम्रो नहुने हो भने बिदामा पनि चलचित्रको व्यापार कमजोर नै भएको पाइन्छ । तर, दर्शकले चलचित्र राम्रो छ भने प्रचार गर्ने गरी मन परेमा त्यसको व्यापार सामान्य समयभन्दा बिदा भनौँ वा चाडपर्वमा धेरै हुन्छ ”, उनले भने ।

उनले नेपालमा रहेको ‘मल्टीप्लेक्स’ बाहेकका चलचित्र भवनले शो सङ्ख्या सुरुआती समयमा धान्न कठिनाई देखिए पनि विस्तारै दर्शकको रोजाइअनुसार शो बाँडफाँट हुने बताए ।

गत वर्ष दसैँमा प्रदर्शन भएका तीन चलचित्रले ४० करोडको हाराहारीमा व्यापार गरेपछि यो दसैँमा पनि चलचित्रकर्मी हौसिएका छन् ।

राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन गर्न अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन–०७३ संशोधन गर्न बनेको अध्यादेश आज जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा पौडेलले अध्यादेश जारी गरेका हुन् । आउँदो फागुन २१ का लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने समय थप्नका लागि अध्यादेश जारी भएको हो ।

अब आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि समय तोक्ने छ । भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनपछि तत्कालीन सरकार ढलेर अन्तरिम सरकार बनिसकेको छ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वको वर्तमान सरकारले फागुन २१ गते निर्वाचन गराउनु पर्ने कार्यभार छ । आगामी निर्वाचनमा जेनजीहरुलाई समेट्नु पर्ने माग उठिरहेको छ ।

मन्त्री घिसिङले मागे उत्तरका सडक मर्मतमा चीनको प्राविधिक सहयोग

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका राजदूत चेन सोङबीच आज (बुधबार) शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा नव नियुक्त मन्त्री घिसिङलाई चिनियाँ राजदूत सोङले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

भेटमा नेपाल–चीनबीचको सडक तथा विद्युत् प्रसारण लाइन कनेक्टिभिटी, चिनियाँ निर्माण व्यवसायीबाट ठेक्का लिएका सडक तथा विद्युत् आयोजनाको निर्माण प्रगति, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहायतामा सञ्चालित आयोजनाहरुको कार्यान्वयन अवस्था, चिनियाँ लगानीलगायतका विषयमा छलफल भएको बताइएको छ ।

भेटमा मन्त्री घिसिङले नेपाल र चीनलाई सडक सञ्चालबाट जोड्ने काठमाडौं-कोदारी (अरनिको) र स्याप्रुबेंसी-रसुवागढी सडक महत्वपूर्ण र संवेदनशील रहेको तर पहिरो र कमजोर भौगोलिक अवस्थितका कारण जोखिमयुक्त रहेकाले चिनियाँ प्रविधि प्रयोग गरी सडक मर्मत गरी स्थायी रुपमा सञ्चालनका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरेका छन् ।

उनले काठमाडौं उपत्यका चक्रपथ विस्तारअन्तर्गत चिनियाँ अनुदानमा निर्माण हुने कलङ्की-बसुन्धरा खण्डको काम तत्काल सुरु गर्न, अरुण नदी करिडोरमा धेरै जलविद्युत आयोजनाहरु निर्माणाधीन रहेको र नेपालको विद्युत् बजारलाई थप प्रतिस्पर्धी बनाउन किमाथाङ्काबाट अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माण अगाडि बढाउन आग्रह गरे।

चिनियाँ कम्पनीले ठेक्का लिएका कमला—कञ्चनपुर आयोजनाको निर्माण सन्तोषजनक नरहेको, नारायणघाट-बुटवल र मुग्लिन-पोखरा सडक विस्तारको कामलाई गतिदिन आवश्यक सहयोग र सहजीकरणका लागि पहल गरिदिन आग्रह गरेका थिए । राजदूत सोङले नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा सहयोग गर्ने चीन सँधै तयार रहेको जवाफ दिएका छन् । भेटमा मन्त्रालयका सचिव केशव कुमार शर्मा, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकाल, सडक विभागका महानिर्देशक विजय जैसी, परराष्ट्र मन्त्रालय उत्तरपूर्व एशिया महाशाखाका उपसचिव मनहरी दङ्गाललगायतका सहभागिता थियो ।

 

युलेन्स स्कुलका ८३ बस जलाइए, नौं भवनमा लुटपाट र आगजनी

काठमाडौं । जेनजी आन्दोलनको तारोमा खुमलटारस्थित युलेन्स विद्यालय पनि पर्‍यो । गत भदौ २४ गते जेनजीका नाममा भएको आन्दोलनमा केही शैक्षिक संस्थाहरूमा पनि आक्रमण भयो । त्यसमध्ये सबैभन्दा ठूलो विध्वंस युलेन्स एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित विद्यालय र कलेजमा गरियो ।

युलेन्स फाउन्डेसनका अनुसार खुमलटारस्थित युलेन्स विद्यालयका पाँच वटा भवनमा तोडफोड, लुटपाट र आगजनी गरिएको थियो । यस्तै बाँसबारीस्थिति विद्यालयका तीन वटा भवन र काभ्रेको नालास्थित विद्यालयको आउटडोर लर्निङ सेन्टर पनि ध्वस्त पारिएको फाउन्डेसनद्वारा जारी वक्तव्यमा उल्लेख छ । वक्तव्यमा भनिएको छ, ‘किन्डर गार्डेनदेखि आईबी डिप्लोमा र कलेज तहसम्मका सबै विद्यार्थीहरूका लकरमा रहेका पुस्तक तथा स्टेशनरीहरु जलाइएका छन् । विद्यालय जोकोहीको मुटु काँप्ने गरी खण्डहर बनेको छ ।’

आन्दोलनबाट विद्यालयमा एक अर्ब २५ करोड बराबरको भौतिक क्षति भएको फाउन्डेशनले जनाएको छ । युलेन्समा एक हजार ४६१ जना विद्यार्थीहरू अध्ययनरत छन् भने पाँच सय बढी शिक्षक कर्मचारी कार्यरत थिए । विध्वंसका कारण विद्यार्थी र अभिभावक अन्योलमा परेका छन् भने शिक्षक कर्मचारीहरूको रोजगारी संकटमा परेको छ ।

आगजनीमा युलेन्सका ८३ वटा बसहरू जलाइएका थिए । विद्यालयका एसी, कम्प्युटर, फ्रिज, स्मार्ट बोर्ड, फर्निचरहरू लुटिए वा जलाइए । फाउन्डेशनले विज्ञप्तिमा भनेको छ, ‘यो आगोबाट बीभत्स रूपमा खरानी बनाइएको युलेन्सको विस्तारित समुदायको संवेग, अनुभव र जीवन कसरी बौराउने भन्ने संगीन र कारुणिक मोडमा हामी उभिएका छौँ ।’

युलेन्समाथि आक्रमणको प्रमुख कारण हो, तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणाको नाम जोडिनु । आरजु यस विद्यालयको व्यवस्थापन समिति अध्यक्ष हुन् । फाउन्डेसनले भने आरजुको विद्यालयमा कुनै पनि लगानी नरहेको र सार्वजनिक भएको हिसाबले मानार्थरुपमा अध्यक्ष पद दिइएको स्पष्ट पारेको छ ।

‘विद्यालय युलेन्स एजुकेसन फाउन्डेसनले सञ्चालन गर्छ । युलेन्स एजुकेशन फाउन्डेशनमा डा. आरजु राणा देउवाको स्वामित्व कहिल्यै थिएन, न त यो केही व्यक्ति विशेषको नाफा कमाउने निजी कम्पनी नै हो । यो त मुनाफा वितरण नगर्ने कम्पनी हो । कम्पनी ऐनमै मुनाफा वितरण नगर्ने कम्पनी बन्द हुँदाको बखत त्यसका सारा सम्पत्ति राज्यको हुने प्रष्ट व्यवस्था गरिएको छ ।’ फेरि खरानीबाट उठेपछि फेरि ढल्नु पर्दैन भन्ने सुनिश्चितता नरहेको भन्दै विद्यालयले चिन्ता व्यक्त गरेको छ ।

 

सुपर टाइफुन रागासाले ताइवानमा ताल फुट्दा १४ को मृत्यु, हङकङ–दक्षिण चीनमा प्रहार

हङकङ । सुपर टाइफुन रागासाले ताइवानमा दशकौँ पुरानो ताल फुट्दा कम्तीमा १४ जनाको ज्यान जानुका साथै १८ जना घाइते भएका छन् ।

आँधी दक्षिण चीनतर्फ प्रवेश गर्दा बुधबार हङकङ भीषण हावा, मुसलधारे वर्षा र उच्च समुद्री लहरले प्रभावित भयो ।

हङकङमा धेरै ठाउँमा रूख ढले, बाढी आयो र एक उच्चस्तरीय होटलको काँचको ढोका फुटेर लबीमा पानी पस्यो । सहर अझै आँधीबेहरी–स्तरको हावाबाट प्रभावित हुने पूर्वानुमान हङकङ अब्जर्भेटरले जनाएको छ । तटीय क्षेत्रमा पानी सामान्य स्तरभन्दा तीन मिटरभन्दा माथि पुगेको छ ।

मकाउको क्यासिनो क्षेत्रमा पनि व्यापक बाढी देखिएपछि केही क्षेत्रमा बिजुली आपूर्ति काटिएको छ ।

उत्तरी फिलिपिन्समा रागासाले दुई जनाको मृत्यु भइसकेको छ । चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयले टाइफुन गुआङडोङ प्रान्तको झुहाई र झानजियाङबीच बुधबार दिउँसो अवतरण गर्ने जनाएको छ ।

चीनका दक्षिणी कम्तीमा १० सहरमा विद्यालय र व्यवसाय बन्द गरिएका छन् । लाखौँ मानिस प्रभावित भएका छन् । याङजियाङ सहरमा सडकहरू खाली देखिए भने रेल सेवा स्थगित गरिएको छ ।

– हङकङमा क्षति र तयारी –

सामाजिक सञ्जालमा प्रमाणित तस्बिरहरू अनुसार धेरै जिल्लामा बाढी आएको छ । ओसन पार्क नजिकैको होटलमा आँधीले काँच फोड्दा पानी पसेको छ । पैदल पुलको टुप्पो भाँच्चिएको र अग्ला भवनहरू हावाले हल्लिएका थिए ।

पचास अस्थायी आश्रयमा सात सय ६० जनाभन्दा बढी शरण लिएका छन् । रेल सेवा खुला खण्डमा बन्द गरिएको छ भने भूमिगत खण्डमा सीमित सञ्चालन भइरहेको छ । विमानस्थलमा सयौँ उडान रद्द भएका छन्, कार्गो उडानहरू मात्रै सञ्चालनमा छन् ।

मङ्गलबार चाई वान जिल्लामा छाल हेरिरहेका पाँच वर्षीय बालक र उनकी आमा समुद्रमा खसेपछि गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ । उनीहरूलाई बचाउन दौडिएका ४० वर्षीय बुबा पनि अस्पतालमा भर्ना भएका छन् ।

गभर्नर र अधिकारीहरूले भारी वर्षाले थप क्षति गर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।

अष्ट्रेलियामा जुवा खेल्ने दरमा उल्लेखनीय वृद्धि : सरकारी प्रतिवेदन

क्यानबेरा । अष्ट्रेलियाका नागरिकहरूमा जुवा खेल्ने प्रवृत्ति र त्यसले पार्ने नकारात्मक प्रभाव दिनप्रतिदिन बढ्दै गएको एक सरकारी अध्ययनले देखाएको छ ।

सन् २०२४ मा अष्ट्रेलियन पारिवारिक अध्ययन संस्थान (एआईएफएस) ले गरेको एक देशव्यापी सर्वेक्षण अनुसार, अघिल्लो १२ महिनाभित्र ६५.१ प्रतिशत परिपक्व नागरिकले कुनै न कुनै प्रकारको जुवा खेलेका थिए । सन् २०१९ मा यो दर ५७ प्रतिशत थियो ।

उक्त प्रतिवेदन अनुसार २०२४ मा सहभागीमध्ये १५ प्रतिशतले जुवाका कारण पारिवारिक, आर्थिक वा मानसिक समस्याको सामना गर्नु परेको बताएका छन् । सन् २०१९ मा यस्तो समस्या ११ प्रतिशतले मात्र अनुभव गरेका थिए ।

झन्डै ३२ प्रतिशत परिपक्व नागरिकले कम्तीमा महिना एकपटक जुवा खेल्ने गरेको जनाइएको छ, जसमा पुरुषको सहभागिता महिलाको भन्दा बढी छ ।

प्रतिवेदनमा २.६ प्रतिशत नागरिकलाई गंभीर जोखिममा रहेका जुवामा लिप्त व्यक्ति भनेर चिनाइएको छ । तीमध्ये ६८.१ प्रतिशतले मानसिक वा व्यवहार सम्बन्धी समस्या झेलेका छन् भने १५.५ प्रतिशतले आत्महत्या गर्ने विचार गरेको बताएका छन् ।

१८ देखि २४ वर्ष उमेर समूहका नियमित रूपमा जुवा खेल्ने युवाहरू बुढा उमेर समूहको तुलनामा झन्डै दोब्बर जोखिममा रहेको पाइएको छ ।
क्विन्सल्याण्ड राज्यको तथ्यांक कार्यालयद्वारा प्रकाशित एक प्रतिवेदन अनुसार सन् २०२२–२३ मा अष्ट्रेलियाली जनताले कानुनी रूपमा चलाइने जुवा खेलमा करिब ३२ अर्ब अष्ट्रेलियन डलर गुमाएका छन्, जुन प्रति व्यक्ति हिसाबमा विश्वकै सबैभन्दा बढी हो ।

संस्थाकी निर्देशक लिज नेभिलले भने,“जुवा अहिले हाम्रो समाजमा गहिरो रूपमा व्याप्त भएको छ । व्यक्ति, परिवार र समुदायलाई सहयोग गर्नका लागि हाल चलिरहेका नीतिहरूलाई फेरि विचार गर्न आवश्यक छ ।”

उक्त सर्वेक्षणले सबैभन्दा धेरै खेलिने जुवा भाग्य परीक्षण (लट्री) भएको देखाएको छ, त्यसपछि खोपपत्र चिठ्ठा, घन घुमाइने यन्त्र (स्लट मेसिन), घोडा दौड र खेलकुदको अन्दाज खेल लोकप्रिय छन् ।

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनर्निर्माणका लागि अर्थमन्त्रीको अध्यक्षतामा समिति

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा क्षति पुगेका भौतिक संरचना निर्माणका लागि अर्थ मन्त्रालयले भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश २०८२ गठन गरेको छ । मन्त्रालयले समितिको अध्यक्ष अर्थमन्त्री रहने गरी सहरी विकास मन्त्रालय मातहतमा राखेर समिति गठन गरेको हो ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी संरचनाहरुको पुनर्निर्माणका लागि छुट्टै कोषको स्थापना गरेर स्रोत परिचालन गर्नका लागि पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा अर्थमन्त्री अध्यक्ष र गृहमन्त्री, सहरी विकासमन्त्री, नेपाल सरकारको मुख्य सचिव गरी तीन सदस्य रहने र सहरी विकास मन्त्रालयको सचिव नै सदस्य सचिव हुने गरी समिति गठन गरिएको हो ।

समितिले कोष सञ्चालन, स्रोत परिचालन तथा सम्पूर्ण पुनर्निर्माणको कामहरु सहरी विकास मन्त्रालय अन्र्तगत रहेर गर्न सक्ने अख्तियारी दिएको हो । कोषमा नेपाल तीन तहकै सरकारले प्रदान गरेको रकम, स्वदेशी तथा विदेशी व्यक्तिले प्रदान गरेको रकम तथा वैदेशिक सहायताबाट प्राप्त रकम, व्यावसायिक प्रतिष्ठानले सामाजिक उत्तरदायित्वबापतको रकम वा अन्य कुनै स्रोतबाट प्राप्त भएको रकम राखिनेछ ।

यसरी सिधै कोषमा रकम राख्न पनि अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्नेछ भने कोषमा रहेका रकम नेपाल राष्ट्र बैंक वा अन्य वाणिज्य बैंकहरुमा छुट्टै खाता खोलेर राख्नुपर्नेछ । कोष सञ्चालनका लागि समितिको सदस्य सचिव र सहरी विकास मन्त्रालयको आर्थिक प्रशासन शाखा प्रमुखको संयुक्त दस्तखतबाट आवश्यक पर्नेछ ।

आदेशमा कोषको रकम जेनजी आन्दोलनमा क्षति भएका सार्वजनिक वा सरकारी भौतिक संरचनाको पुनर्निर्माण वा मर्मत गर्न, आवश्यक फर्निचर, फिक्सचर्स तथा मेसिनरी औजार वा उपकरण खरिद गर्न प्रयोग गर्न सक्ने छन् । यस्तै आर्थिक पुनरुत्थान कार्यक्रम सञ्चालन तथा राहत र पुनस्र्थापनाका लागि पनि कोषको रकम खर्च पाउने व्यवस्था गरिएको छ ।

समितिले कुनै रकम प्राप्त गर्नुअघि नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने छ । कोषको खाता सञ्चालन समिति सदस्यसचिव र सहरी विकास मन्त्रालयको आर्थिक प्रशासन शाखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ ।
समिति आफूले गरेका कामको विवरण हेरेर त्रैमासमा नेपाल सरकारलाई बुझाउनुपर्ने छ । आदेश अनुसार यो समितिको अवधि एक वर्षको हुनेछ । सरकारले आवश्यक देखे उक्त समितिको अवधि ६ महिना थप गर्न सक्ने व्यवस्था आदेशमा छ । तर, समितिको अवधि सकिएपछि भने स्वतः विघटन हुनेछ । समिति विघटन हुँदा कोषमा कायम रहेको रकम संघीय सञ्चित कोषमा जाने आदेशमा उल्लेख छ ।

जापानी प्रधानमन्त्री : प्यालेस्टाइन राज्य मान्यता ‘यदि होइन, कहिले ’

संयुक्त राष्ट्रसङ्घ । जापानका प्रधानमन्त्री सिगेरु इसिबाले संयुक्त राष्ट्रसङ्घलाई सम्बोधन गर्दै प्यालेस्टाइन राज्यलाई मान्यता दिनु समयको प्रश्न मात्रै भएको बताएका छन् । उनले इजरायली अधिकारीहरूको हालैको वक्तव्यलाई ‘क्रोधित’ हुनेगरी अस्वीकार गरे ।

संयुक्त राष्ट्रसङ्घका करिब ८० प्रतिशत सदस्य राष्ट्रले पहिल्यै प्यालेस्टाइनलाई मान्यता दिइसकेका छन् । बेलायत, क्यानाडा र फ्रान्सले समेत गाजामा करिब दुई वर्ष लामो युद्धबीच यसै हप्ता आफ्नो नाम थपेका छन् ।

“प्यालेस्टिनी राज्य निर्माणलाई अस्वीकार गर्ने इजरायली वरिष्ठ अधिकारीहरूको भनाइप्रति म कडा आक्रोश व्यक्त गर्छु”, इसिबाले भने, “हाम्रो लागि प्रश्न यो होइन कि मान्यता दिने हो वा होइन, तर कहिले दिने भन्ने हो । इजरायली सरकारले जारी राखेको एकपक्षीय कार्य कहिल्यै स्वीकार्य छैन ।”

उनले चेतावनी दिँदै भने, “यदि दुई–राज्य समाधानलाई अवरुद्ध गर्ने थप कदम चालियो भने जापान प्रतिक्रियामा नयाँ उपाय लिन बाध्य हुनेछ ।”

प्यालेस्टाइनलाई मान्यता दिने हालको लहर सन् २०२३ अक्टोबर ७ मा हमासको अभूतपूर्व आक्रमणपछि सुरु भएको गाजामा इजरायली आक्रमणपछि आएको हो । हमासको आक्रमणमा एक हजार दुई सय १९ इजरायली मारिएका थिए ।

जवाफमा भएको इजरायली कारबाहीले करिब ६५ हजार तीन सय ८२ प्यालेस्टिनीको ज्यान लिएको छ, जसलाई संयुक्त राष्ट्रसङ्घले विश्वसनीय तथ्याङ्क मानेको छ ।

अमेरिकाको निकट सहयोगी र जी–७ सदस्य जापानमा करिब ५४ हजार अमेरिकी सैनिक तैनाथ छन् । तर एसियामा दक्षिण कोरिया र सिङ्गापुरले भने अझै प्यालेस्टाइनलाई राज्यका रूपमा मान्यता दिएका छैनन् ।

इसिबाले भने, “हमासले गरेको आतङ्क र गाजामा भइरहेको विनाशले धेरैलाई गहिरो पीडा दिएको छ । तर सबैभन्दा महत्त्वपूर्ण कुरा, प्यालेस्टाइन स्थायी रूपमा इजरायलसँग शान्तिपूर्ण सहअस्तित्वमा रहन सक्ने अवस्था निर्माण गर्नु हो ।”

उनले प्यालेस्टाइनलाई अन्तर्राष्ट्रिय समुदायको जिम्मेवार सदस्य बन्न आमन्त्रित गर्दै जवाफदेहिता सुनिश्चित गर्ने शासन प्रणाली निर्माण गर्न आग्रह गरे।

राष्ट्रपति र प्रधानमन्त्री शीतलनिवासमा बीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयीक राजनीति, फागुन् २१ म तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

शितल निवासमा राष्ट्रपति पौडेललाई भेटेर प्रधानमन्त्री कार्की बाहिरिएकी छिन् । ‘प्रधानमन्त्री आउनु भएको थियो । राष्ट्रपतिसँग छलफल गरेर निस्कनु भयो,’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भने ।
भेटमा समसामयिक राजनीति, २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचन