`

प्रचण्डको प्रस्तावमा नारायणकाजी र जनार्दनको असहमति

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सातौं पूर्ण बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक एवं संगठनात्मक प्रस्ताव राखेका छन् । आज (बिहीबार) बाट काठमाडौंमा सुरू भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले अहिलेको केन्द्रीय समिति विघटन गर्दै विशेष महाधिवेशनमा जानका लागि आफ्नो नेतृत्वमा आयोजक कमिटी बनाउने प्रस्ताव राखेका छन् ।

त्यस्तै उनले तोकिएको समयमा नै निर्वाचन हुनुपर्ने र पार्टीको ध्यान निर्वाचनमा केन्द्रीत गर्नुपर्नेमा जोड दिएको बैठकमा सहभागी माओवादी नेताहरूले जनाएका छन् । पार्टी अध्यक्ष प्रचण्डले राखेको राजनीतिक एवं संगठनात्मकमाथि प्रदेश अनुसार प्रतिनिधि विभाजन गरी छलफल हुने र समूहका नेताले बैठकमा रिपोर्टिङ गर्ने माओवादीले जनाएको छ ।

बैठकमा पदाधिकारी र समूहका नेताले मात्रै धारणा राख्ने कार्यसूचीका बारेमा महासचिव देव गुरुङले जानकारी गराएपछि केहि नेताले आपत्ति जनाएका छन् । माओवादी नेता रन्जित तामाङ, सुदन किरातीलगायतले हरेक सदस्यले आफ्नो धारणा राख्न पाउनुपर्ने माग राखेका थिए । अध्यक्ष प्रचण्डको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका छन् । सुरुमा बोलेका अध्यक्ष प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् । विशेष महाधिवेशनमाजाने भएपछि पदाधिकारी र केन्द्रीय समिति भंगको प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यसमा असहमति जनाउँदै उपमहासचिव शर्माले नयाँ प्रस्ताव राखेका छन् । आफ्नो असहमति रहेको भन्दै उनले नयाँ प्रस्ताव राखेका हुन् । उपमहासचिव शर्माले भने, ‘सबै पदाधिकारी राजीनामा दिएर निर्देशक समितिमा बसेर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गरौं ।’ उपमहासचिव शर्मा अगाडि वरिष्ठ उपाध्यक्ष श्रेष्ठ बोलेका थिए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रचण्डको प्रस्तावअनुसार मंसिरमा विशेष महाधिवेशन सम्भव नरहेको बताए । ‘मंसिरमा विशेष महाधिवेशन सम्भव छैन । निर्वाचन पछि महाधिवेशन गर्नुपर्छ,’ श्रेष्ठले भनेका छन् ।

भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । त्यसपछि प्रतिनिधि सभाबाट अर्को सरकार बन्ने वातावरण नरहेको भनेर पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकेका छन् । उक्त चुनाव समयमै सम्पन्न गराउन पार्टीले भूमिका खेल्नुपर्ने र पार्टीको महाधिवेशन चुनाव पछाडि गर्नुपर्ने श्रेष्ठको प्रस्ताव छ ।

चुनाव पछाडि महाधिवेशन गरेपनि अध्यक्ष प्रचण्डले भने अहिले नै राजीनामा दिनुपर्ने उनको आग्रह छ । बदलिएको परिस्थितिमा प्रचण्डले नेतृत्व भने अहिले नै छाड्नुपर्ने श्रेष्ठको आग्रह छ । श्रेष्ठले राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘अध्यक्ष कमरेड प्रचण्डले अहिले नै अध्यक्ष छोडेर मलाइ कार्यबाहक अध्यक्ष दिनुस । यो मेरो कुरा होइन, आम कार्यकर्ता र यो हलको कुरा राखेको हुँ ।’ यसअघि गत आइतबार बसेको माओवादीको पदाधिकारी बैठकमा समेत वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यबाहक अध्यक्ष माग गरेका थिए ।

‘…नारायणकाजीले पनि मलाई कार्यवाहक दिनुपर्‍यो भनेर माग गर्नु भएको थियो हिजो (आइतबार) मिटिङमा । माग गरेपछि मैले भनें दिइदिनुस् न त उहाँलाई कार्यवाहक, दुई महिना त हो, दुई महिना कार्यवाहक दिएर केही बिग्रँदैन, दिनुहोस्,’ उपमहासचिव शर्माले गत सोमबार भनेका थिए । केन्द्रीय समितिको बैठक शुक्रबार सम्पन्न हुने माओवादीले जनाएको छ ।

 

बालेन–हर्कलाई बाबुरामको सुझाव : संविधानको रक्षाका लागि मिल्नुस्

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बालेन शाह, हर्क साम्पाङसहितका नयाँ शक्तिलाई मिल्न सुझाव दिएका छन् । जेनजी आन्दोलनको म्यान्डेड अनुसार वैकल्पिक नयाँ शक्तिहरूबीच सहकार्य वा मोर्चा बनाउनुपर्ने उनले बताएका छन् ।

आज (बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. भट्टराईले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी, गत निर्वाचनमा उदय हुनु भएका बालेन्द्र शाह, हर्क साम्पाङ लगायतका जो व्यक्तिहरू हुनुहुन्छ र पछिल्लो चरणमा जुन नयाँ पुस्ता आगाडि आएको छ, तपाईंहरू एक ठाउँमा आउने, सहकार्य गर्ने वातावरण तपाईंहरूले बनाउनु पर्छ ।’

उनले भने, ‘सकेसम्म मिल्नेहरू जतिले खास एजेण्डामा केन्द्रित भएर एउटै शक्ति बनाउने, त्यो खास एजेण्डा भनेको के हो भने अहिलेको जुन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान छ त्यसमा टेक्ने । योभन्दा पछाडि फर्कने होइन । यसमा टेकेर कति थप्न सकिन्छ थप्ने ।’

भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र आधारस्तम्भ भन्दै त्यसलाई साझा विन्दु मानेर वैकल्पिक शक्तिहरू सबै एक ठाउँमा आउनुपर्ने बताए । ‘कथंकदाचित एक ठाउँमा आउन सकिन्न भने सहकार्य गरेर, मोर्चा बनाएर, अल्टरनेटिभ एलाइन्स गरेर पनि जान सकिन्छ,’ उनले भने ।

उनले कांग्रेस, एमाले, माओवादीलाई ‘थोत्रा’ पार्टीको संज्ञा दिएका छन् । ती पार्टी सच्चिने सम्भावना नरहेको बताउँदै उनले भने, ‘सँगसँगै मेरो आग्रह– पुराना थोत्रा पार्टीका नेताहरू सच्चिनेवाला छैनन् । कांग्रेस, एमाले, माओवादी सच्चिने सम्भावना देख्दिनँ । टाउकैसम्म कुहिएर बसेको त्यो शक्ति छ त्यसको रुपान्तरणको सम्भावना म देख्दिनँ ।’

ती पुराना पार्टी भित्रका दोस्रो, तेस्रो र नयाँ पुस्ताका युवाहरूलाई विद्रोह गर्न पनि उनले आह्वान गरे । ‘ती पुराना पार्टी भित्रका दोस्रो, तेस्रो र नयाँ पुस्ताका साथीहरूले पनि विद्रोह गरेर फेरि वैकल्पिक शक्ति अभियानलाई साथ दिनुपर्छ,’ डा. भट्टराईले भने, ‘त्यसो हुन सक्यो भने छिटो नै तपाईंहरूले चाहेजस्तो शासकीय सुधारमा परिवर्तन ल्याएर निर्वाचन तोकिएकै समयमा हुनेछ ।’

 

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बनियानी (झापा) । झापाको विर्तामोड नगरपालिका(७ स्थित खालबाडीमा गएराति हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । विर्तामोड-७ खालबाडीमा नाम, ठेगाना नखुलेका करिब ३६ वर्षीय पुरुषको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

तराई मूलको जस्तो देखिने ती पुरुषलाई जङ्गलबाट आएको एउटा हात्तीले आक्रमण गरेर थियो । पुरुषको शव आज बिहान ६ः२० बजे स्थानीयवासीले देखेपछि खबर गरेका प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राष्ट्र पुनर्निर्माणमा आर्थिक सहयोग गर्न मन्त्री घिसिङको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान गरेका छन् । सरकारले बुधबार मात्र कोष स्थापना गर्दै सहयोगको आह्वान गरेको हो । सरकारले अर्थमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण समिति समेत गठन गरिसकेको छ ।

समितिले पुनर्निर्माण कार्ययोजना स्वीकृत गर्दै पुनर्निर्माणको काम थाल्ने मन्त्री घिसिङले जानकारी दिए । भौतिक संरचनामा आगजनी र तोडफोडले ठूलो क्षति भएको भन्दै उनले आर्थिक पुनरुत्थान र पुनर्निर्माण कोष स्थापना गरिएको बताए।
अर्थ मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्रराष्ट्रहरू, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाबाट अमूल्य योगदान गरी यो अभियानमा सहभागी हुन आह्वान गरेको हो ।

मन्त्रालयले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको र उक्त कोषमा योगदान गर्न सबैलाई आग्रह गरेको छ । त्यसका लागि सिंहदरबारस्थित राष्ट्रिय वाणिज्य बैङ्कमा भौतिक पूर्वाधार पुनर्निर्माण कोषको नाममा रहेको खाता नं १९६०१००१०२०७०००४ मा सहयोग रकम जम्मा गरिदिन अनुरोध गरेको छ ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचना पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गरी पुनर्निर्माण तथा मर्मत, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनासम्बन्धी कार्यलाई तत्काल व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले मन्त्रिपरिषद्को यही असोज ५ को बैठकको निर्णयअनुसार यस्तो आह्वान गरेको जनाएको छ ।

मन्त्रालयले भनेको छ, ‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी भएको र उक्त गठन आदेशले आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापना कार्यका लागि स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदानका लागि नेपाल सरकार आह्वान गर्दछ ।’ ‘जेनजी’ आन्दोलनका क्रममा भौतिक संरचनामा आगजनी र तोडफोडबाट ठूलो क्षति भएको जनाउँदै मन्त्रालयले त्यस्ता भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहतलगायतका कार्यलाई भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको प्रस्ट पारेको छ ।

चार हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा विस्तार

दमौली(तनहुँ) । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँमार्फत जिल्लामा चार हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा विस्तार गरिएको छ । कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका आयोजनामार्फत थप चार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको हो ।

सो अवधिमा छ वटा सिँचाइ आयोजना सम्पन्न भएका कार्यालयका प्रमुख मोहनराज आचार्यले जानकारी दिए । उनका अनुसार जिल्लाका १३ हजार ५८३ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । त्यसमध्ये छ हजार ३४७ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने उनले जानकारी दिए ।

आचार्यले भने, “जिल्लाको कूल क्षेत्रफल एक लाख ५४ हजार ६०० हेक्टर क्षेत्रफलमध्ये ६५ हजार ६१ हेक्टर खेतीयोग्य जमिन छ । एकाउन्न हजार ५१० हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ । तर सबै ठाउँमा सिँचाइ सुविधा पुग्न सकिरहेको छैन ।”

कार्यालयले गत आव सिँचाइतर्फ चार वटा इन्टेक, सात हजार २३३ मिटर क्यानल लाइनिङ, नौ हजार ३१४ मिटर पाइपलाइन विस्तार गरेको आचार्यले जानकारी दिए । उनका अनुसार सङ्घीय सरकारमार्फत नदी नियन्त्रणतर्फ ४०० मिटर र प्रदेश सरकारमार्फत १९० मिटर तटबन्धन गरिएको छ । जसकारण १३ हेक्टर जग्गा उकासमा सहयोग पुगेको बताउँदै उनले एक हजार ३९० मिटर ग्याविन वाल निर्माण गरिएको जानकारी दिए ।

सो वर्ष प्रदेश सरकारमार्फत नदी नियन्त्रणका लागि रु चार करोड ३२ लाख १२ हजार, पहिरो संरक्षणका लागि रु ३३ लाख ८२ हजार, सिँचाइ आयोजना निर्माणका लागि रु आठ करोड ९९ लाख ९१ हजार, आपत्कालीन बाढीपहिरो तथा जलस्रोतसम्बन्धी क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि रु ३२ लाख २८ हजार बजेट खँर्च भएको छ ।

कार्यालयले विभिन्न आयोजनामार्फत रोजगारी सिर्जनामा समेत सहयोग पुर्‍याएको छ । कार्यालय प्रमुख आचार्यका अनुसार घिरिङ गाउँपालिका–३ स्थित फदुवा छबिसे सिँचाइ आयोजनामा २५, घिरिङ गाउँपालिका–१ स्थित गडीझौरीटार सिँचाइ आयोजनामा ४०, म्याग्दे गाउँपालिका–७ स्थित रानीटारी सिँचाइ आयोजनामा १५, ऋषिङ गाउँपालिका–४ स्थित मनादी खोला भिरकोट सिँचाइ आयोजनामा २५ र व्यास नगरपालिका–६ स्थित मदीखोला ठूलोकुलो मर्मत कार्यमा २० जनाले रोजगारी पाएका छन् ।

सचिव योगेश भट्टराईले गरे एमाले पुनर्गठनको अपिल (भिडियोसहित)

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले पार्टी पुनर्गठनको अपिल गरेका छन् । भट्टराईले अब एमाले र कम्युनिस्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्ने बेला आएको भन्दै नेतृत्वका सम्मानसहित पुनर्गठनको अफिल गरेका छन् ।

भट्टराईले लामो लिखित र भिडिओ सन्देश जारी गर्दै परिवर्तित सन्दर्भलाई बुझ्न र संकटले सिर्जना गरेर नयाँ चेतनाबाट पार्टी पुनर्गठन गर्न आवश्यक रहेको बताएका छन् । उनले पुनर्गठनको अर्थ अहिलेको नेतृत्वको अपमान वा प्रहारको रूपमा कतैबाट पनि व्याख्या गर्न नहुने बताएका छन् । उनले भनेका छन्, ‘ग्राम्सीले भने जस्तै अब नेकपा (एमाले) लाई, कम्युनिष्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्नेछ । फेरि पार्टी र आन्दोलनको पुनर्गठन गरिरहँदा हामीले इतिहासको बेवास्ता र अपमान कदापि गर्नु हुन्न ।’ पार्टीका नेताहरू जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय तपाई–हामी पनि उहाँहरूसँगै थियौँ । यो जस–अपजसको भागीदार हामी पनि हौँ । त्यसैले म यो बेला भन्छु, ‘उहाँहरूको सम्मान सहित पुनर्गठन ।’

फेरि यहाँनिर पुनर्गठन र रूपान्तरणको बहस गरिरहँदा वर्तमान मूल नेतृत्वप्रतिको प्रहारको रूपमा जबरजस्ती कहीँ कतैबाट उत्तेजनापूर्ण व्याख्या गरिएको पनि सुनिन्छ । म तपाईँहरूलाई भन्न चाहन्छु, ‘कमरेडहरू, यो आन्दोलनको वैभव, संगठनको साम्राज्य र अजेय विचार रह्यो भने न उहाँहरूको सम्मान रहन्छ । इतिहास रहन्छ ।’ सम्झिनुहोस् त, दुनियाँको इतिहास । लेनिनका, माक्र्सका शालिकहरु ढालिएका इतिहास तपाई हामीले पढेका छौँ । हाम्रो नेताहरूको इतिहासको रक्षा र सम्मान त्यति बेला मात्रै हुन्छ, जतिबेला हाम्रो आन्दोलन रहन्छ । इतिहासको सम्मान वर्तमानप्रतिको सचेत निर्णय र भविष्य निर्माणको आधार पनि हो । पुनर्गठन र रूपान्तरणको आवाजलाई हाम्रो आदरणीय नेताहरूमाथिको प्रश्न अथवा अपमानको रूपमा अर्थ लगाउनु सर्वथा गलत हो । वस्तुतः यो व्याख्या गर्नेहरू नै हाम्रो नेतृत्वको सम्मानका बाधक हुन् ।

हेर्नुस् यस्तो छ भट्टराईको अपिल

जेन जी आन्दोलनमा गोली लागेर घाइते भएका अनिल, साहरा विहिन

काठमाडौं । बूढानीलकण्ठको एक घरमा भाडाको सानो कोठा । एउटा कुनामा भान्छा, अर्कोतिर कुनामा पलाङ्ग, पलङ्गसँगै दराज र दराजमाथिको झ्यालमा डेढ वर्षअगाडि संसार छाडिसकेकी श्रीमतीसँगको तस्बिरहरू ।

जेनजी आन्दोलनमा गोली लागि भर्खर तंग्रदै गरेका कुस्मा पर्वतको ३१ वर्षीय अनिल परियारको डेरा हो यो । सिलाइकटाइ व्यस्त रहने अनिललाई भदौ २३ गरेको जेन जी आन्दोलन किन ? के कारणले भयो ? को हुन् र के हो जेन जी केही जानकार थिएन ।

आन्दोलनमा प्रहरीको गोली लागि ज्यान गुमाएका विद्यार्थी भाइहरूको माया र क्रुरतबाट रिस उठेपछि २४ गते आन्दोलनमा पुगेको उनी सुनाउँछन् । आफूसँग टाढा टाढा आन्दोलन जान सवारी साधन नभएपछि नजिकैको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरतिर अगाडि बढेको एक समूहमा उनी पनि मिसिए ।

त्यही बेला चलेको गोली अनिलको देब्रे कोखा हुँदै पछाडिबाट बाहिर निस्क्यो । उनी अचेत अवस्थामा पुगे । डेढ वर्ष अगाडि श्रीमती गुमाएका अनिलले दुःख, सुख, मजदूरी गरी कोठा भाडा र आफ्नो एकमात्र सन्तान नौ वर्षीय छोरालाई शिक्षादिक्षाका दिई हुर्काउँदै आएका थिए । अहिले आफू नै यस्तो अवस्थामा पुगे पछि दैनिक गुजारा चलाउन उनलाई गार्‍हो भएको छ ।

२४ गते करिब ६ बजेतिर गोली लागेको उनलाई, होसमा आउँदा शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टको आई. सीयूमा थिए । २५ गते बिहान करिब ३ बजेतिर होसमा आएका उनको मृत्यु भइसकेको भन्दै हल्ला नै फैलिसकेको रहेछ ।

भाउजू संगिता परियारलगायत आफन्त अस्पताल पुग्दा अस्पताल कर्मचारीले हिजो साँझ अपरेसन गर्दा नै बितिसकेको खबर सुन्न परेको र शव बुझ्न १० बजे पछि आउन समेत भनेको संगीताले सुनाइन् ।

निराश हुँदै घर फर्केका उनीहरूलाई २५ गते बिहान ८:३० बजे तिर अस्पतालको एक नर्ससँग फोन मागेर अनिल आफैँले नै फोन गरे र आफूलाई भर्खर आईसीयू बाट वार्डमा सारेको र अहिले ठिक भएको जानकारी दिए ।

चार दिने अस्पताल बसाइ पछि उनी भदौ २९ मा डिस्चार्ज भए ।

गोलीले मुटुमा समेत असर गरेपछि ओपन हर्ट सर्जरी गरी आईसीयू मा रहेका उनी हस्पिटल ल्याउन केही समय ढिला गरेको भए उनलाई बचाउन असम्भव हुने डाक्टर अनिल भट्टराई बताउँछन् ।

‘हामीका ल्याउँदा अवस्था निकै क्रिटिकल थियो, गोलीका छर्राले मुटुमा समेत असर गरेकोले ढिला गरेको भए भाइको मृत्यु समेत हुन सक्थ्यो ‘, डा. भट्टराईले भने ।

भाउजू संगीता अहिले अनिलको हेरचाहमा खटिएकी छन् । उनको स्वास्थ्य सुधार हुँदै आएको छ । तर गोलीका छर्रा शरीरमा अझै बाँकी छ । जुन आजीवन रहने छ । काम गरेर जीविकोपार्जन गर्ने उनलाई अहिले घर चलाउने र छोराको पढाइ साथै पालनपोषणको ठूलो चिन्ता छ ।

अब नयाँ नेपाल, परिवर्तन, र सहज तरिकाले देश मै बस्ने र काम गर्ने अवस्था आओस् भनी उनी कामना गर्छन् ।

लद्दाखमा हिंसात्मक झडपपछि कडा सुरक्षा प्रतिबन्ध

श्रीनगर (भारत)। भारत सरकारबाट बढी स्वायत्तताको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बनेपछि चार जनाको मृत्यु र दर्जनौँ घाइते भएको एक दिनमै भारतीय अधिकारीहरूले दुर्गम लद्दाख क्षेत्रका दुई मुख्य जिल्लामा सुरक्षा प्रतिबन्ध लगाएका छन् ।

अधिकारीहरूले लेह र कारगिलमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएका छन् । बिहीबार सडकमा सयौँ प्रहरी र अर्धसैनिक परिचालन गरिँदा बजार र व्यवसाय बन्द भएका छन् ।

उच्च उचाइको सहर लेहमै पदयात्रा रोकेपछि प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरेका थिए । त्यसपछि प्रहरीले गोली, अश्रुग्याँस र लाठी प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको र धेरै घाइते भएको जनाइएको छ । प्रदर्शनकारीहरूले सरकारी भवन र सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को स्थानीय कार्यालयमा समेत आगजनी गरेका थिए ।

सन् २०१९ मा भारतले लद्दाखलाई जम्मु–काश्मीरबाट अलग गर्दै राज्यको दर्जा र अर्धस्वायत्तता खोसेपछि यस क्षेत्रमा राजनीतिक अधिकार र भूमि संरक्षणका माग चर्किएका छन् । प्रदर्शन हालै भोक हडतालमा सहभागी दुई जनाको स्वास्थ्य बिग्रिएपछि सुरु भएको हो ।

भारतको गृह मन्त्रालयले प्रहरीले ‘आत्मरक्षा’ मा गोली चलाएको बताउँदै शीर्ष जलवायु कार्यकर्ता सोनम वाङ्चुकको ‘उत्तेजक भाषण’ लाई हिंसाका लागि दोष दिएको छ । वाङ्चुकले त्यसपछि भोक हडताल फिर्ता लिएका छन् ।

यो हिंसा दशकौँयताकै सबैभन्दा ठूलो भएको बताइएको छ, जसले स्थानीय बासिन्दाको निराशालाई उजागर गरेको छ । सुरुमा सन् २०१९ को परिवर्तनलाई समर्थन गरेका उनीहरू अहिले भूमि कब्जा, व्यापार घाटा र नाजुक इकोसिस्टममा क्षतिको डरले असन्तुष्ट भएका छन् ।

लद्दाख प्रतिनिधिहरूले भारत सरकारसँग पटक–पटक वार्ता गरे पनि परिणाम प्राप्त भएको छैन । अर्को बैठक अक्टोबर ६ मा तोकिएको छ ।

यस क्षेत्र जलवायु परिवर्तनबाट पनि गम्भीर रूपमा प्रभावित छ । हिमनदीहरू तीव्र गतिमा पग्लिँदै गएर लाखौँ मानिसको पानी आपूर्ति सङ्कटमा पारेको छ । चीनसँगको सीमा विवाद र सन् २०२० यताका सैन्य गतिविधिले प्रदूषण बढाई पग्लनलाई अझ गति दिएको छ ।

लोकतन्त्र रक्षाका लागि २१ फागुनमै चुनाव हुनुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्र रक्षाका लागि आगामी २१ फागुनमै चुनाव हुनुपर्ने बताएका छन् । यसका लागि पार्टीले वातावरण बनाउन मेहनत गर्नुपर्ने बताएका छन् ।
काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा प्रचण्डले सम्बोधन गरिरहेका छन् । त्यसक्रममा उनले भने, ‘लोकतन्त्र रक्षाका लागि २१ फागुनको निर्वाचन सम्पन्न गराउन माओवादीले विशेष जोड गर्ने हो ।’

२३ र २४ भदौमा भएको जेनजीको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । त्यसपछि प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने वातावरण नरहेको भनेर पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर आगामी २१ फागुनका लागि चुनावको मिति तोकेका छन् । क्त चुनाव समयमै सम्पन्न गराउन पार्टीले भूमिका खेल्नुपर्ने माओवादी अध्यक्ष प्रचण्डले बताएका हुन् ।

कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड दिने
नेकपा माओवादी केन्द्रले माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड दिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै यस्तो नीतिका लागि केन्द्रीय समितिको जारी बैठकमा प्रस्ताव प्रस्तुत गरेका छन् । प्रचण्डले नै आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् । विशेष महाधिवेशन गरेर आगामी फागुन २१ को चुनावको तयारीमा जुट्ने उनको प्रस्ताव छ । यसबीचमा समेत माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड गर्ने प्रचण्डको प्रस्ताव रहेको छ ।

नेकपा एकीकृत समाजवादी, नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग माओवादीको एकताको गृहकार्य भइराखेको छ । यो बेला प्रचण्डले केन्द्रीय समितिको बैठकमा भनेका छन्, ‘विभिन्न पार्टीहरुसंगको एकतालाई जोड गर्नुपर्छ । यसका लागि वातावरण बन्दै गएको छ, बनाउनुपर्ने पनि छ ।’ आज प्रचण्डका यी लगायतका प्रस्तावमाथि पदाधिकारीबाट कुनै फरक राय वा प्रस्ताव भए प्रस्तुत गर्नेछन् । त्यसपछि प्रदेश अध्यक्षहरूको रिर्पोटिङ लिएर समुहगत छलफलमा गएर निर्णय प्रक्रियामा पुग्ने माओवादीको तयारी छ ।

वासिङ्टनमा सरिफ र ट्रम्प बीच भेट : टिकटक सम्झौतामाथि कार्यकारी आदेश तयारी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ओभल अफिसमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफसँग बन्द–ढोका सत्रसहित उच्च–स्तरीय द्विपक्षीय बैठक गर्ने तयारी भएको ह्वाइट हाउसले सार्वजनिक तालिकामा जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८०औँ महासभामा भाग लिएपछि सरिफ वासिङ्टन पुग्नेछन् । उनले बुधबार जलवायु शिखर सम्मेलनलाई सम्बोधन गर्दै पाकिस्तानको ऋण समस्या समाधान बिना विश्वव्यापी चुनौतीहरूको समाधान सम्भव नभएको चेतावनी दिएका थिए । यसले इस्लामाबादले हरितगृह ग्यास उत्सर्जन घटाउन चालेको दाबीलाई कमजोर बनाएको टिप्पणी गरिएको छ ।

मङ्गलबार ट्रम्प र पाकिस्तानसहित आठ इस्लामिक–अरब देशका नेताहरूबीच भेट हुँदा सरिफले अनौपचारिक रूपमा ट्रम्पसँग कुराकानी गरेका थिए । पाकिस्तानी विदेशमन्त्रीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै प्रधानमन्त्री शाहबाज र उपप्रधानमन्त्री र विदेशमन्त्री सिनेटर इशाक दार पनि छलफलमा सहभागी भएको बताएका छन् ।

तालिकाअनुसार, सरिफसँग भेटअघि राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्नेछन् । यसमा टिकटक सुरक्षा सम्झौताको अन्तिम निर्णय पनि समावेश हुनेछ ।

सोमबार ह्वाइट हाउसले यसै साताभित्र सम्झौतामा ट्रम्पले हस्ताक्षर गर्ने घोषणा गरेको थियो । सम्झौताअनुसार टिकटक अमेरिकी लगानीकर्ताहरूको बहुमत स्वामित्वमा रहनेछ र राष्ट्रिय सुरक्षा तथा साइबर सुरक्षा विशेषज्ञता भएको बोर्डद्वारा सञ्चालित हुनेछ ।

ओरेकलले विश्वसनीय सुरक्षा प्रदायकका रूपमा सबै अमेरिकी प्रयोगकर्ता डाटाको स्वतन्त्र निगरानी गर्नेछ, जुन अमेरिकाभित्रैका ओरेकल सञ्चालित सर्भरहरूमा भण्डारण गरिनेछ ।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले सम्झौताका सर्त स्पष्ट गर्दै भने, “राष्ट्रपतिले यस हप्ताभित्र आधिकारिक सम्झौतामा हस्ताक्षर गर्ने छन् ।”

यसअघि, चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि अमेरिकामा टिकटक सञ्चालनलाई निरन्तरता दिन सम्झौतामा सहमति जनाएका थिए । ट्रम्प र सीबीच टेलिफोन वार्तापछि बाइटडान्सले आवश्यक प्रक्रिया अघि बढाउने घोषणा गरेको थियो । कम्पनीले चिनियाँ कानूनअनुसारको काम निरन्तर गर्ने बताउँदै अमेरिकी प्रयोगकर्ताहरूलाई सेवा दिन प्रतिबद्धता जनाएको छ ।

सन् २०२४ अप्रिलमा पारित कानूनअनुसार जनवरी १९ देखि टिकटक प्रतिबन्धित हुने प्रावधान थियो, तर ट्रम्प प्रशासनले कार्यान्वयन नगरेको हो ।

अमेरिका र चीनबीच भइरहेको प्रस्तावित सम्झौताअनुसार अमेरिकी लगानीकर्ताहरूले टिकटकको ८० प्रतिशत नियन्त्रण गर्ने र बाँकी २० प्रतिशत बाइटडान्ससहितका चिनियाँ कम्पनीहरूले राख्ने योजना रहेको द वाल स्ट्रिट जर्नल र द न्युयोर्क टाइम्सले जनाएका छन् ।

यसैबीच, ट्रम्पले आफ्नो दिनको सुरुआत टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनसँगको कार्यक्रमबाट गर्नेछन् ।

बालेन लक्षित हर्कको कटाक्ष : विदेशी दलालको स्टाटस बेमौसमी गीत मात्रै

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले फेरि एक पटक काठमाडौंका मेयर बालेन शाह लक्षित कटाक्ष गरेका छन्। उनले विदेशी दलालको स्टाटस बेमौसमी गीत मात्रै भएको भन्दै कटाक्ष गरेका हुन् ।

हर्कले देशको अवस्था खरानी बनाएर एम्बुलेन्स र छात्रवृत्तिका कुरा गरेर मोड्न खोजेको आरोप समेत लगाएका छन् । ‘विदेशी दलालको स्टाटस बेमौसमी गीत मात्रै हो !’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ’देशको अवस्था खरानी बनाएर घरी एम्बुलेन्स रे, घरी छात्रवृत्ति रे, भो अब जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले चिनिसक्यो विदेशी दलाल भनेर !’

माओवादीको केन्द्रीय समिति बैठक सुरु (तस्बिरहरू)

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले केन्द्रीय समितिको सातौँ पूर्ण बैठक प्रज्ञा भवन कमलादीमा सुरू भएको छ ।

बैठकमा अध्यक्ष प्रचण्ड राजनीतिक एवं संगठनात्मक प्रस्ताव राखेका छन् ।

थोत्रा र भ्रष्ट पुराना दललाई टाउको उठाउन दिनु हुँदैन : बाबुराम भट्टराई

काठमाडौं । नेसपा (नयाँ शक्ति) नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नातिनातिना पुस्तालाई अवसर दिनुपर्ने भएकाले आफूले अध्यक्ष पद त्याग गरेको बताएका छन् । केन्द्रीय समिति बैठकमा अध्यक्ष पद त्याग घोषणा गरेपछि आज पत्रकार सम्मेलन गरेर जेनजी आन्दोलनले अब केही दशक देशलाई नेतृत्व गर्न नयाँ पुस्ता ल्याएको बताए ।

डा. भट्टराईले पुराना र भ्रष्टीकृत भइसकेका दलहरुलाई फेरि टाउको उठाउन दिन नहुने बताएका छन् । नेसपा (नयाँ शक्ति) को अध्यक्षबाट राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा उनले अब नयाँ र वैकल्पिक शक्तिहरुले देशको नेतृत्व लिनुपर्ने बताएका हुन् ।

‘भ्रष्टीकृत भइसकेका दलहरुलाई कुनैपनि बाहनामा किन्तु परन्तु नभनीकन टाउको उठाउन दिनु हुन्न,’ भट्टराईले भने, ‘नयाँ र वैकल्पिक शक्तिहरुले देशको नेतृत्व लिनुपर्छ ।’ उनले पुराना र थोत्रा पार्टीहरु सच्चिने सम्भावना नरहेको बताए । बरु पुराना पार्टीका नेताहरुले विद्रोह गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘हामीले नयाँ पुस्तालाई अब अवसर दिनुपर्छ । पुराना दलहरू कि रूपान्तरण भएर कि सच्चिनु पर्छ कि सच्चिनु पर्छ । त्यसैले अब वैकल्पिक शक्तिहरूले पनि आफ्नो समूह र पार्टीहरू छन्, सबैले नयाँ पुस्तालाई अघि सार्नुपर्छ भनेर मैले पद त्याग गरेको छ। म अभियान र आन्दोलनबाट अलग भएको होइन ।’

उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति नभएसम्म देशले स्थायित्व नपाउने बताएका छन् । उनले थपे, ‘नयाँ शक्ति अभियान एउटा, अर्को विवेकशील साझा छ । अर्को स्वतन्त्रको रूपमा आएको छ, बालेन, हर्कलगायतले स्वतन्त्र अभियान चलाइराख्नु भएको छ । अहिले जेनजी नयाँ पुस्ताको रूपमा आएको छ । स्वतन्त्र ठुलो शक्ति छ । त्यसैले यी सबै शक्तिलाई अघि ल्याउन हाम्रो पुस्ताले मार्ग प्रशस्त गर्नुपर्छ ।’

 

 

डेनमार्कका विमानस्थलहरूमाथि ड्रोन उडान, आलबोर्ग केही घण्टा बन्द

कोपनहेगन । यस हप्ताको सुरुमा कोपनहेगन विमानस्थललाई बन्द गर्न बाध्य बनाउने घटनापछि डेनमार्कभरका धेरै विमानस्थलहरूमाथि ड्रोन देखिएको प्रहरीले बिहीबार जनाएको छ । तीमध्ये आलबोर्ग विमानस्थललाई घण्टौँका लागि बन्द गरिएको थियो ।

हालै पोल्यान्ड र रोमानियामा यस्तै घटना देखिनुका साथै एस्टोनियाको हवाई क्षेत्रमा रूसी लडाकू विमानले उल्लङ्घन गरेको खबर सार्वजनिक भएपछि युक्रेनमा जारी रुसी आक्रमणका सन्दर्भमा यसले थप तनाव बढाएको छ ।

प्रहरीका अनुसार आलबोर्ग, एस्बेर्ज, सन्डरबोर्ग र स्क्रिडस्ट्रप एयर बेस वरिपरि ड्रोनहरू देखिएका थिए । देशको दोस्रो ठूलो आलबोर्ग विमानस्थललाई केही घण्टा बन्द गरी पछि मात्र पुनः सञ्चालनमा ल्याइएको थियो ।

“ड्रोनहरू दुई घण्टासम्म ठूलो क्षेत्रमा उडिरहेका थिए तर तल झार्न सकिएनन्”, नर्थ जुटल्यान्डका प्रमुख प्रहरी निरीक्षक जेस्पर बोजगार्ड म्याडसेनले भने, “यस समयमा ड्रोन चलाउने व्यक्तिहरूलाई पनि हामीले पक्राउ गरेका छैनौँ ।”

दक्षिण जुटल्यान्ड प्रहरीले बुधबार साँझ एस्बेर्ज, सन्डरबोर्ग र स्क्रिडस्ट्रप विमानस्थल वरिपरि ड्रोन देखिएको रिपोर्ट पाएको जनाएको छ । तर त्यहाँ तत्काल कुनै उडान तय नभएकाले ती विमानस्थलहरू बन्द गरिएका थिएनन् ।

प्रहरीका अनुसार ड्रोनहरू ‘बत्ती बालेर उडाइएका’ थिए र जमिनबाट स्पष्ट देखिएका थिए, तर ती कस्तो प्रकारका थिए वा उद्देश्य के थियो भन्ने अझै पत्ता लागेको छैन । ‘परिस्थिति स्पष्ट पार्न’ गुप्तचर निकाय र सशस्त्र सेनासँग संयुक्त अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कोपेनहेगन विमानस्थलमाथि ठूला ड्रोन उड्दा केही दिनअघि सुविधा घण्टौँका लागि बन्द भएपछि अनुसन्धानलाई तीव्र पारिएको हो । प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले कोपेनहेगनको घटनालाई ‘डेनमार्कको महत्त्वपूर्ण पूर्वाधारमा भएको सबैभन्दा गम्भीर आक्रमण’ भनेका छन् ।

“हामीले हालै देखिरहेका अन्य ड्रोन आक्रमण, हवाई उल्लङ्घन र युरोपेली विमानस्थलमाथि साइबर आक्रमणहरूसँग यो घटनाको सम्बन्ध देखिन्छ”, उनले भने ।

तर मस्कोले संलग्नता अस्वीकार गरेको छ । पोल्यान्ड, एस्टोनिया र रोमानियाले पनि लडाकू जेट वा ड्रोनमार्फत हवाई उल्लङ्घन गरेको आरोप अस्वीकार गरेका छन् ।

डेनमार्कले पहिलो पटक लामो दूरीका सटीक हतियार प्राप्त गर्ने घोषणा गरेपछि यस हप्ताका ड्रोन गतिविधि भएका हुन् । कोपेनहेगनका लागि मस्कोका राजदूत भ्लादिमिर बार्बिनले डेनमार्कको यो कदमलाई ‘शुद्ध पागलपन’ भनेर टिप्पणी गरेका थिए ।

ढिलो होला, सधैं अँध्यारो भइरहँदैन : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले ढिलो भए पनि सधैं अँध्यारो भइ नरहने बताएका छन् । आज (बिहीबार) सामाजिक सञ्जालमार्फत उनले १७ वर्षको द्वन्द्वमा नभएको क्षति र भ्रष्टहरूले गरेको मुलुकको लुटभन्दा बढी क्षति २४ गते भएको बताएका छन् ।

सामाजिक सञ्जाल चलाउन नपाएर निस्सासिएका जेन–जी नै भदौ २३ गते सडकमा निस्किएका बताउँदै रिजालले २४ गते यस राष्ट्रका दुश्मनले त्यसलाई कब्जा गरे र केही घण्टामा राष्ट्र तबाह पारेको जिकिर गरेका छन् । रिजालले भने, ‘कुनै दिन यिनी लुटेरा र नेपालका दुश्मनको नकाव उत्रिनेछ र न्यायको कठघरामा उभिएको देख्न पाइनेछ । ढिलो होला, सधैं अँध्यारो भइरहँदैन ।’

 

जेनजी आन्दोलनले सरकार ढले पनि पुरानो सत्ता ढलेको छैन : बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको राजनीतिक परिवर्तन ‘आंशिक सफलता’ मात्र भएको बताएका छन् । उनले दीर्घकालीन स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताएका छन् ।
पार्टीको अध्यक्ष त्यागेको भोलिपल्ट आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनका कारण सरकार ढलेको तर पुरानो सत्ता नढलेको उल्लेख गरे ।

‘तपाईंहरुले आंशिक जित हासिल त गर्नुभयो, सरकार त ढाल्नु भयो,’ भट्टराईले भने, ‘तर, पुरानो सत्ता ढलेको छैन ।’ उनका अनुसार, सत्ता परिवर्तन भए पनि मुलुकमा राजनीतिक स्थायीत्व र सुशासन सुनिश्चित हुन सकेको छैन । भ्रष्टाचार र अस्थायित्व जन्माउने संरचना तोड्न व्यवस्थागत सुधार अपरिहार्य भएको भट्टराईको भनाइ छ । उनले भने, ‘व्यवस्था नै बदल्न खोजेको त होइन, तर व्यवस्थामा महत्वपूर्ण सुधार गरेर जुन भ्रष्टहरु जन्मिए, फेरि भ्रष्टहरू नजन्मिउन । त्यसका लागि केही सुधार गरेर मात्रै निर्वाचनमा जानुपर्छ ।’

संविधान निर्माणको समयदेखि नै निर्वाचन प्रणालीमा त्रुटि रहेको उनले बताएका छन् । ‘मैले संविधान बनाउने बेलादेखि नै यो संविधान आधा गिलास खाली, आधा गिलास भरी भनेको थिएँ । किनकी यो शासकीय त्रुटि छ, त्यसले गर्दा कसैलाई पनि बहुमत ल्याउन दिँदैन,’ भट्टराईले स्पष्ट पारे । उनले वर्तमान प्रणालीलाई स्थायित्वत्वविहीन ठहर गर्दै भने, ‘कुनै पनि सरकारलाई ५ वर्ष टिक्न दिँदैन । जब देशमा लोकतान्त्रिक स्थिरता हुँदैन, त्यतिबेलासम्म सुशासन र समृद्धि हुँदैन ।’

समाधानको उपाय सुझाउँदै भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीलाई विकल्पका रूपमा अघि सारे। ‘प्रत्यक्ष निर्वाचित प्रणालीमा नगएसम्म देशमा राजनीतिक स्थिरता हुँदैन । यिनै भ्रष्टहरु चलखेल गरेर फेरि आउने र तपाईंहरूको बलिदान खेर जान्छ,’ उनले चेतावनी दिए । उनले जेनजीहरुलाई सरकारसँग संवाद गरेर व्यवहारिक सम्झौता खोज्न सुझाव दिए ।

भेनेजुएलामा ६.३ म्याग्निच्युडको भूकम्प

काराकस । उत्तरपश्चिम भेनेजुएलामा बुधबार राति ६.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु जुलिया राज्यको तेलसहर मेने ग्रान्डेबाट १४ किलोमिटर टाढा, २७ किलोमिटर गहिराइमा रहेको थियो । यो क्षेत्र थोरै जनसङ्ख्या भएको मानिन्छ ।

भूकम्प राजधानी काराकसमा पनि महसुस गरिएको थियो । राजधानी काराकस केन्द्रविन्दुबाट छ सय किलोमिटरभन्दा टाढा छ । केही भवनहरू हल्लिएका कारण धेरै बासिन्दा आफ्ना अपार्टमेन्ट छोडेर बाहिर निस्किन बाध्य भएको एएफपी पत्रकारहरूले जनाएका छन् ।

युएसजिएसले यस भूकम्पबाट सुनामीको कुनै महत्त्वपूर्ण खतरा नभएको भन्दै ‘कुनै कार्य आवश्यक छैन’ भन्ने सल्लाह जारी गरेको छ ।

यसअघि केही घण्टाअघि उही क्षेत्रमा ६.२ म्याग्निच्युडको अर्को भूकम्प आएको थियो, जुन छिमेकी कोलम्बिया र क्यारिबियनका अरुबा, कुराकाओ र बोनेयर टापुमा समेत महसुस गरिएको थियो । तर तत्काल ठूलो क्षतिको कुनै खबर आएको छैन ।

भेनेजुएलामा शक्तिशाली भूकम्प सामान्यतया कमै आउने भएकाले काराकस र माराकाइबो लगायतका सहरमा यसपटकको कम्पनले चेतावनी जारी भएको थियो । मानिसहरू सडकमा उत्रिए, तर गृहमन्त्री डायोस्डाडो क्याबेल्लोले राज्य टेलिभिजनमार्फत भूकम्प ‘उल्लेखनीय संरचनात्मक क्षति बिना’ भएको स्पष्ट पारेका छन् ।

लगभग ८० प्रतिशत भेनेजुएलालीहरू भूकम्पीय क्षेत्रमा बस्छन् । सन् १९९७ मा सुक्रे राज्यको क्यारियाकोमा आएको भूकम्पमा ७३ जनाको मृत्यु भएपछि हालसम्म ठूलो घटना भएको थिएन । त्यसअघि, सन् १९७६ मा काराकसमा आएको भूकम्पमा करिब तीन सय जनाको मृत्यु र दुई हजार घाइते भएका थिए ।

चुनावअघि नै भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ : बाबुराम भट्टराई

काठमाडौं । नेसपा (नयाँ शक्ति) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिए पनि आफू राजनीतिबाट अलग नभएको बताएका छन् । उनले नेतृत्वमा नयाँ पुस्तालाई प्रोत्साहन गर्न अध्यक्ष पदबाट अलग भएको बताए ।

आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै डा. भट्टराईले भने, ‘म कुनै आन्दोलनबाट अलग भएको होइन । देशलाई विकल्प निर्माण गर्ने अभियानमा म हिजो पनि थिएँ, आज पनि छु र भोलि निरन्तर रहने छु ।’ जेनजी युवा आन्दोलन जायज भएको पनि उनले बताएका छन् । उनले चुनाव अघि भ्रष्टाचारीहरुलाई कारबाही हुनुपर्ने बताए । अन्यथा भ्रष्ट नेताहरु नै निर्वाचित भएर आउने उनको भनाइ छ ।

 

जिम्मेवारीबाट पन्छिने सोचेको छैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू पदलोलुप नभएको तर अहिलै नै जिम्मेवारीबाट नपन्छिने बताएका छन् । आज (बिहीबार) प्रज्ञा प्रतिष्ठानमा सुुरु भएको माओवादी केन्द्रको सातौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै राष्ट्र, पार्टी र क्रान्तिका लागि अन्तिमसम्म लडिरहने स्पष्ट पारेका हुन् ।

‘यो जिम्मेवारीबाट पन्छिने बिल्कुल सोचेको छैन, तर पदलोलुपता मेरो नेचर हैन,’ उनले भने, ‘त्यसैलै अहिले पनि म हुनैपर्ने भन्ने छैन । राष्ट्र, क्रान्ति, र पार्टीको लागि अन्तिमसम्म लडिरहने प्रतिज्ञा गर्छु ।’ उनले नेतृत्व निर्माण र हस्तान्तरणको प्रक्रियाबारे न्यूनतम बुझाई कायम गर्न जरुरी रहेको बताएका छन् । प्रचण्डले राजीनामा दिनुपर्ने भन्दै पार्टीका महासचिव जनार्दन शर्माले पछिल्लो समय दवाव बढाइरहेका छन् ।

त्यसलाई काउन्टर दिँदै प्रचण्डले असोज ५ गते बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । आजको केन्द्रीय समितिबाट उक्त प्रस्तावलाई अनुुमोदन गर्दै प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउने तयारी छ ।

गगन र विश्वप्रकाशको एकमत : मंसिरमा नियमित महाधिवेशन, नभए विशेष महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन बोलाउन केन्द्रीय प्रतिनिधिहरुको हस्ताक्षर अभियानले हलचल पैदा भइरहेका बेला दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी नेतृत्वले अठोट गरेमा मंसिरभित्रै नियमित महाधिवेशन गर्न सकिने विकल्प अघि सारेका छन् । नियमित महाधिवेशनका लागि क्रियाशील सदस्यताको नवीकरण र नयाँ सदस्यता वितरणका काम बाँकी नै रहेका बेला विधानका प्रक्रिया निलम्बन गरेर नियमित महाधिवेशन गर्न सकिने विकल्प उनीहरूले देखाएका हुन् ।

आउँदो मंसिर मसान्तबाट सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमितिको चार वर्षको कार्यकाल सकिँदैछ । केन्द्रीय कार्यसमितिको म्याद नबढाई नियमित महाधिवेशनमा जाने निर्णय केन्द्रीय कार्यसमितिबाट भएमा विशेष महाधिवेशनमा जान नपर्ने तर्क उनीहरुको छ । तर, सभापति तयार नभएकाले विशेष महाधिवेशनको विकल्प अघि बढाउनु परेको उनीहरुको भनाइ छ । नेता शेखर कोइरालाले पनि नियमित महाधिवेशनकै लागि जोड दिँदै आएका छन् ।

पछिल्लो समय आ–आफ्नो समूह निर्माण गरेर अघि बढेका शेखर र गगनबीच विकसित घट्नाक्रमपछि पार्टी रुपान्तरणको दिशामा मिलेरै अघि बढ्ने विषयमा बुधबार लामो छलफल समेत भयो। थापाले नियमित महाधिवेशन चाँडै गराउन अनलाइनबाट सदस्यता भर्न पाउने गरी खुला गरेर प्रत्यक्ष केन्द्रीय नेतृत्व चयन गर्न सकिने विकल्प हुन सक्ने भनेका छन् । ‘विधानका धाराहरू निलम्बन गरेरपनि मंसिरभित्र नियमित महाधिवेशन गर्न नसकिने होइन, गर्न सकिन्छ । हाम्रो (दुई महामन्त्री) पहिलो प्राथमिकता यसैमा हो,’ थापाले भने, ‘भाद्र २३ र २४ अगाडि र पछिको नेपाल अब एउटै होइन । त्यसअघि हामीले जे–जे गरेका थियौं, त्यसरी नै अघि बढ्ने सुविधा हामीसँग छैन । पार्टीको नेतृत्व र नीतिमानै हामीले ऐतिहासिक फैसला गर्ने बेला आएको छ । त्यो संकल्प र विश्वास महाधिवेशनबाट सिर्जना गर्नुपर्दछ ।’

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि मंसिर मसान्तभित्र नियमित महाधिवेशन गर्न नसकिए मात्रै विशेष महाधिवेशनमा जाने कुरा आफूहरुले उठाएको स्पष्ट पारेका छन् । नियमित महाधिवेशनको नाममा मंसिर कटाउन नहुने दुई महामन्त्रीकै एउटै स्वर छ । ‘विधानको धारा १७ (२) बमोजिम केन्द्रीय समितिले चाहेमा विशेष महाधिवेशन बोलाउन सकिने प्रक्रियामा हामी लाग्नेछौं, त्यो हाम्रो जिम्मेवारी हो,’ शर्माले भने,‘तर केन्द्रीय समितिले त्यो निर्णय नगर्ला कि भनेर ४० प्रतिशत हस्ताक्षर जुटाउनतर्फ महाधिवेशन प्रतिनिधिहरू लाग्नुहुनेछ भने त्यसलाई कसैले पनि नकारात्मक रुपमा लिन मिल्दैन ।’

शर्माले माथिको निर्णयले होस् या तलको दबावले अब नयाँ पार्टीभित्र तत्काल नयाँ नेतृत्व आवश्यक रहेको बताए । पार्टीको विधानको १७ (२) अनुसार बिषम परिस्थितिमा पार्टी केन्द्रीय कार्यसमिति आफैँले विशेष महाधिवेशन बोलाउन सक्छ। २०१४ सालमा केन्द्रीय कार्यसमितिकै निर्णयबाट विशेष महाधिवेशन बोलाएर सुवर्ण शमसेर राणाको ठाउँमा वीपी कोइराला सभापति भएका थिए ।

पार्टी केन्द्रीय कार्यसमितिमा पार्टी सभापति देउवाको दुई तिहाई समर्थन प्राप्त छ । त्यहाँ महामन्त्रीको भन्दा पार्टी सभापतिले चाहेको प्रस्ताव मात्रै पारित हुने भएकाले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन थालिएको महामन्त्री निकट एक पदाधिकारीले बताए ।

‘पार्टी सभापति तत्कालै विशेष वा नियमित महाविधेशनमा जाने पक्षमा हुनुहुन्न । उपचारकै क्रममा रहनु भएका पार्टी सभापति र पूर्व परराष्ट्रमन्त्रीले टेलिफोनबाट विशेष महाधिवेशनका लागि ४० प्रतिशत हस्ताक्षर पुग्न नदिन आफू निकट नेताहरुमार्फत पहल गर्नु भएको छ’ ती पदाधिकारीले भने, ‘केन्द्रीय कार्यसमितिले नियमति महाधिवेशन बोलाउला भन्ने विश्वास नभएकालेनै हस्ताक्षर संकलन थालिएको हो ।’

केन्द्रीय प्रतिनिधिहरुको हस्ताक्षरबाट विशेष महाधिवेशनको माग भएमा पार्टी सभापतिले तीन महिनाभित्र बोलाउनुपर्ने वैधानिक व्यवस्था छ । हस्ताक्षरबाट विशेष महाधिवेशन बोलाउँदापनि मंसिर÷पुसमा जाने, नियमित महाधिवेशन गर्दा मंसिरभित्रै गर्नुपर्ने हुन्छ । दुई विकल्प मध्ये जुनमा गएपनि एउटै समयमा पर्ने भएकाले दुई महामन्त्री र नेता कोइरालाले एउटै स्वरमा मंसिरमै नियमित महाधिवेशनलाई प्राथमिकता दिएका छन् ।

ज्वाङखोलामा पहिरो पृथ्वी राजमार्ग फेरि अवरुद्ध

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोला र तिङराङखानीमा पहिरोका कारण पृथ्वी राजमार्गमा यातायात अवरुद्ध भएको छ । सडकमा ठूलो परिमाणमा माटो र ढुङ्गा खस्दा सवारी आवागमन दुवैतर्फ रोकिएको हो । आज बिहान करिब १० बजेबाट पहिरो झर्न सुरु भएको हो ।

हाल सडकमा यातायात सञ्चालनका लागि पहिरो हटाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए । दसैँ सुरु भएसँगै घर फर्किने यात्रुको चाप बढिरहेको अवस्थामा राजमार्ग बन्द हुँदा हजारौँ सवारी साधन बाटैमा रोकिएका छन् । रोकिएका सवारी साधनलाई सम्भावित जोखिम कम हुने सुरक्षित स्थानमा सार्न सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

अवरुद्ध स्थान नजिकै मात्र नभई अन्य ठाउँमा पनि पहिरोको उच्च जोखिम रहेको भन्दै यात्रुलाई सतर्क रहन र आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । बेनिघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा यसअघि (सोमबार राति) सुक्खा पहिरो खस्दा १७ घण्टा पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो । बुधबार बेलुका झरेको पहिरो आज बिहान पन्छाएर सडक सञ्चालन गराइएको थियो ।

प्रचण्ड भूमिका बदल्न तयार हुनुहुन्छ : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूमिका बदल्न तयार रहेको बताएका छन् । केन्द्रीय कमिटी वैठकस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पुनले अध्यक्ष प्रचण्ड पार्टीमा नयाँ भूमिकाका लागि तयार रहेको र स्पष्टसँग कुरा राखिसकेको बताए । अब महाधिवेशनबाट विधि र प्रक्रियाबाट पार्टीको नेतृत्व नयाँ पुस्ताले गरोस् भन्ने अध्यक्षकै प्रस्ताव रहेको उनले दाबी गरे ।

उनले भने, ‘अध्यक्षले पनि गएको साउनमा प्रस्ताव नै राख्नु भएको थियो म मेरो भूमिका बदल्छु भनेर । सङ्गठनात्मक रूपमा नयाँ पुस्तालाई अघि सार्छु भनेर । अहिले जेनजी आन्दोलनपछि यो बहस अघि बढेको छ । अब महाधिवेशनबाट विधि बनाएर पार्टीको नेतृत्व नयाँ पुस्ताले गरोस् । विधि र प्रक्रियामा जाऔँ भनेर उहाँले नै प्रस्ताव राख्नु भएको छ । त्यसलाई पार्टीले स्वीकारेर ओपन छलफल गर्छ ।’

जेनजी आन्दोलनले ल्याएको तरङ्गलाई आत्मसात गरेर जानुपर्ने बताएका छन् । पुनले थपे, ‘आन्दोलनको भावनालाई आत्मसात गरेर नेतृत्व हस्तान्तरण र नेतृत्वको भूमिकाले परिवर्तन गर्नुपर्छ भन्ने सोचेका हौँ । हामी पुस्तान्तरणको एजेण्डा स्वीर्काछौंँ तर अरू नेताहरूले पनि अध्यक्षमाथि मात्रै प्रश्न गरेर हुँदैन ।’ उनले आफ्नो पार्टीले जेनजी पुस्ताको एजेण्डालाई समर्थन गरेको भए पनि पार्टी कार्यालयदेखि नेताहरूको घर जलाएको विषयमा छानबिन गर्न माग गरे ।

चन्द्रागिरिमा महिलाको हत्या

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोकमा खहरे थापागाउँमा एक महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पूर्णिमा चन्दका अनुसार पक्राउ पर्नेमा ३२ वर्षीय सरोज थापा छन् ।

थापागाउँ नै घर भएका सरोजले चन्द्रागिरि नगरपालिका–६ चेकपोष्ट महादेवस्थान घर भइ खहरे थापागाउँ माइतीघरमा बसेकी ६८ वर्षीया पवित्रा केसीको हत्या गरेको आरोप छ । दाउराको चिर्पटले टाउकामा हानेर हत्या गरिएको प्रहरीले बताएको छ । हत्याको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । मृत महिलाको शव पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

 

एमालेमा युवाहरूले सुरु गरे ‘पार्टी रिफर्म रिभोल्युसन’ अभियान

कैलाली । नेकपा एमालेका युवाहरूले पार्टी सुधार र पुनर्गठनका लागि ‘पार्टी रिफर्म रिभोल्युसन’ अभियान थालेका छन् । ‘पार्टी रिफर्म रिभोल्युसन’ नाम दिइएको उक्त अभियानको उद्देश्य पार्टीभित्रको विकृतिप्रति खबरदारी गर्दै नयाँ गति दिने रहेको संलग्न युवाहरूले जानकारी दिएका छन् । आत्मालोचना बिना रुपान्तरण सम्भव नभएको भन्दै उनीहरूले सुधारको बाटो खोजीका लागि आव्हान गरेका छन् ।

निर्वाचनमा टिकट वितरणदेखि अवसरसम्म योग्य व्यक्तिको तुलनामा पैसा र आफन्तको मोह बढी प्रभाव जमाउने गरेको भन्दै आगामी दिनमा त्यस्तो नहोस् भन्नका लागि यो अभियान सुरू गरिएको अनेरास्ववियु प्रदेश संयोजक रोहित बोगटीले जानकारी दिए । ‘हामीले पार्टीको विरोध वा नेतृत्वको विकल्प खोजेका होइनौँ, तर गलत प्रवृत्तिको अन्त्य गर्नुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने, ‘अहिले कैलालीबाट सुरु गरेका छौँ । हामी सबै जिल्लामा यो अभियानमा युवाहरूलाई जोडिरहेका छौँ ।’

एमालेमा भ्रष्टाचारको अभियोग लागेकाहरू, सामाजिक रूपमा अयोग्य ठहरिएका र नैतिक आचरणविपरीतका क्रियाकलापमा संलग्नलाई कारबाही हुनुपर्ने उनीहरूको माग छ । ‘लामो समयदेखि एउटै व्यक्तिलाई अवसर दिनु हुँदैन भन्ने हाम्रो माग हो,’ बोगटीले भने, ‘पार्टीको आन्तरिक निर्वाचनदेखि आम निर्वाचनसम्म पनि खर्चिलो भइरहेको छ, त्यसलाई रोक्नु पर्छ ।’

उनले पार्टीविरुद्ध भएको आन्दोलनपछि फेरि उठेका विभिन्न राष्ट्रका घटनाक्रमलाई अध्ययन गर्दै पार्टीलाई क्रियाशील र गतिशील बनाउन तथा पुनः जनताको लोकप्रिय पार्टी बनाउन अध्ययन सामग्री पनि तयार भइरहेको बताए । त्यो सुझावले पनि एमालेलाई अझ बलियो र लोकप्रिय बनाउन मद्दत गर्ने उनको विश्वास छ ।

विमानस्थलदेखि कार्यक्रम स्थलसम्म पार्टी नेताहरूलाई गरिने जयजयकार अन्त्य गरी सादा, सरल र उपयुक्त कार्यक्रम बनाउनुपर्ने अभियानमा लागेको युवाहरू बताउँछन् । ‘पछिल्लो समय पार्टीभित्रका गतिविधिका कारण समाजमा पार्टीप्रति केही वितृष्णा पैदा भएको छ । बहुदलीय व्यवस्थामा पार्टी नै प्रधान हुन्छन् । तर, पार्टीभित्रका केही गलत परम्परा अन्त्य गर्न आवश्यक छ,’ उनले भने, ‘अहिले हामीले एमालेभित्र यो अभियान सुरु गरेका छौँ, पछि सबै पार्टीभित्र यस्तो अभियान ल्याउन आवश्यक छ ।’

एमालेका केही नेताहरू, विद्यार्थी नेता तथा युवाहरू सक्रिय रूपमा यो अभियानमा जोडिएका छन् । अहिले उनीहरूले सामाजिक सञ्जालमार्फत नै ‘पार्टी रिफर्म रिभोल्युशन’ अभियान चलाइरहेका छन् । केही समयपछि विभिन्न अन्तरक्रियामार्फत यसलाई अझ व्यापक रूपमा अघि बढाउने तयारी भइरहेको बोगटीले जानकारी दिए ।

यी १० निर्माण कम्पनी प्रधानमन्त्री कार्यालयको कालोसूचीमा (नामावली)

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो ।

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ । ६ महिनादेखि एक वर्षको लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
हेर्नुस् सूची

कर्णालीमा ड्रोनसहित तीन हजार ९०८ प्रहरी परिचालन

सुर्खेत । दसैँ, तिहार तथा छठपर्वमा हुनसक्ने सुरक्षा जोखिमलाई ध्यान दिँदै कर्णालीमा तीन हजार ९०८ जना प्रहरी परिचालन हुने भएका छन् । प्रदेश प्रहरी कार्यालयले ‘एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना २०८२’ तयार गरेर ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक केदार खनालले बताए । उनका अनुसार यही असोज ६ गतेदेखि आगामी कात्तिक १० गतेसम्म उक्त सुरक्षा योजना लागू हुनेछ ।
देशका विभिन्न प्रहरी कार्यालयबाट लुटपाट भएका हातहतियार तथा गोलीगठ्ठाको दुरुपयोग एवं विभिन्न कारागारबाट फरार रहेका कैदीबन्दी चाडपर्वको समयमा आफ्नो घरबतनमा आउन सक्ने भएकाले उक्त समयमा थप आपराधिक घटना हुनसक्ने जोखिम रहेको सुरक्षा अधिकारी बताउँछन् । कुनै पनि अप्रिय घटना हुन नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन, नियन्त्रण आवश्यक भएकाले सुरक्षा योजना बनाई लागू गरिएको वरिष्ठ प्रहरी उपरीक्षक खनालले जानकारी दिए ।
५३ वटा मोबाइल गस्ती, ११२ वटा मोटरसाइकल गस्ती, ९२ वटा क्युआरटी (द्रुत प्रतिकार्य टोली) परिचालन गर्नुका साथै १७८ वटा पैदल गस्ती सञ्चालन गरिएको उनले बताए । साथै २० वटा लामो तथा छोटो दूरीका गस्ती समेत परिचालन गरिएको छ । सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउन १३० स्थानमा पिकेट राखिएको छभने ९२ स्थानमा नियमित, विशेष तथा आकस्मिक चेकिङ भइरहेको छ । ट्राफिकसहितको संयुक्त चेकिङ ७५ स्थानमा सञ्चालन गरिएको वरिष्ठ प्रहरी उपरीक्षक खनालले जानकारी दिए ।
प्रतिष्ठान, धार्मिक तथा पर्यटकीयस्थलको सुरक्षाका लागि ४३ स्थानमा प्रहरी खटाइएको प्रदेश प्रहरी प्रवक्ता खनाल बताए । उनका अनुसार यात्रु तथा नागरिकको सुविधाका लागि ४३ स्थानमा यात्रु सहायता तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । सुरक्षा सचेतनाका लागि नौ स्थानमा माइकिङमार्फत प्रचारप्रसार भइरहेको छभने बैंक, वित्तीय संघसंस्थाको सुरक्षा तथा बजार अनुगमनका लागि ४५ स्थानमा प्रहरी खटाइएको छ ।
आठ विशिष्ट व्यक्तिको सुरक्षा र ३१८ अन्य विभिन्न स्थानको सुरक्षामा पनि प्रहरी परिचालन गरिएको खनालले उल्लेख गरे । सुरक्षा योजना अनुसार प्रविधिको उच्चतम प्रयोग गरिनुका साथै संवेदनशील अवस्थामा ड्रोनबाट समेत निगरानी र अनुगमनको व्यवस्था मिलाइएको छ । खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरूको कृत्रिम अभाव र कालोबजारी हुन नदिन अनुगमन गरी सहज आपूर्ति व्यवस्था मिलाइने उनले बताए ।

प्रधानमन्त्री कार्कीलाई एकसाथ चार राजदूतले भेट्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई युरोपेली संघ (ईयु) सहित चार राजदूतले एकसाथ भेट्ने भएका छन् । आज दिउँसो साढे २ बजे उनीहरूले शिष्टाचार भेटका लागि समय लिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । भेट सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै हुनेछ ।

भेटमा ईयुका राजदूतका अलावा फ्रान्स, जर्मनी र फिनल्यान्डका राजदूत पनि हुनेछन् । जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तनपछि नेपालमा विभिन्न मुलुकको चासो बढेको छ । भारत, अमेरिका र चीनका राजदूतले प्रधानमन्त्री कार्कीलाई यसअघि नै भेटिसकेका छन् ।

 

नेपाल टेलिकमको बिलिङमा समस्या, कयौं फोन ‘वान–वे’

काठमाडौं । नेपाल टेलिकमको पोस्टपेड र प्रिपेड फोनको बिलिङमा समस्या आएको छ । यस कारण बिहीबार बिहानदेखि हजारौं पोस्टपेड तथा प्रिपेड फोनहरुमा ‘आउट गोइङ कल’ ब्यारियर (वान वे) भएको छ । करिब ८ घण्टाभन्दा बढी समय फोनमा समस्या आएपछि टेलिकमका धेरै पोस्टपेड प्रयोगकर्ता पीडित भएका छन् । नेपाल टेलिकमका एक वरिष्ठ इन्जिनियरका अनुसार हरेक महिनाको १५ तारिकमा पोस्टपेडको बिलिङ हुन्छ । त्यही क्रममा प्रणालीका आएको समस्याका कारण ब्यालेन्स भए पनि कतिपय फोन ‘वान वे’ भएका छन् ।

समस्या समाधानका लागि काम भइरहेको टेलिकमका प्रवक्ता रव्निद्र मानन्धरले जानकारी दिएका छन् । उनले भने, ‘मध्यरातदेखि टेलिकमको बिलिङमा समस्या आएको हो । अहिले समस्या समाधान भइसकेको छ । थप काम भइरहेको छ।’ मध्यरातदेखि टेलिकमको अनलाइन चार्जिङ सिस्टम (ओसीएस) मा समस्या आएको थियो । यो भनेको रियल टाइम चार्जिङ सिष्टम हो ।

 

जेनजीसँग वार्ताका लागि रास्वपाले बनायो कार्यदल, पुकार बम ‘कमाण्डर’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी उमेर समूहका युवाहरूलगायत नयाँ शक्तिहरू, अभियन्ताहरूसँग वार्ताका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । वार्ताका लागि पार्टीका केन्द्रीय सदस्य पुकार बम कार्यदलको कमाण्डर बनेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकले आवश्यक संवाद एवं सहकार्यका लागि पार्टी केन्द्रीय सदस्य बमको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए ।

दशैंमा उपत्यका छाड्नेहरुको बढ्यो चाप, अहिलेसम्म कति बाहिरिए ? (तस्वीरहरु)

काठमाडौं । दशैं नजिकिएसँगै काठमाडौं उपत्यका छोड्नेहरुको संख्या बढ्दै गएको छ । स्कूल, कलेजहरूमा बिदा सुरु भए पछि काठमाडौंको गोंगबु बस पार्कमा बिहानैदेखि काठमाडौं छोड्नेहरुको भीड लाग्ने गरको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार घटस्थापनाको दिनदेखि हालसम्म करिब एक लाख ३८ हजार २९६ जनाले उपत्यका छाडेको जानकारी दिए ।

त्यस्तै यस वर्ष विभिन्न कारणले अग्रिम टिकट बुकिङ खुल्ला नगरिए पनि एक दिन अगाडीको टिकट लिने व्यवस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । जसका कारण टिकट लिनेहरुको समेत गोंगबु बस पार्कमा भीड लागेको छ । हाल गोंगबु नयाँ बसपार्क, माछापोखरीस्थित धादिङ बसपार्क, कोटेश्वर, कलंकी लगायत विभिन्न चोकहरुमा उपत्यका छोड्नेहरुको भीड लाग्ने गरेको छ ।

तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

 

पाँच राजमार्ग पूर्णरूपमा अवरुद्ध, चार एकतर्फी सञ्चालनमा (सूचीसहित)

काठमाडौं । मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी–पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका–३ एकुवास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।
त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ पासाङल्हामु राजमार्गस्थित नेपाल–चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ–नारायणघाट सडकखण्ड र रुकुम पूर्वको भूमे गाउँपालिका–४ स्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार नवलपरासी पूर्वस्थित पूव–पश्चिम राजमार्ग, बाग्लुङस्थित कालिगण्डकी करिडोर, रसुवास्थित त्रिशुली–मैलुङ सडक एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् ।
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
पहिरोले अवरुद्ध बनेको बागलुङ–बलेवा–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालनमा आएको छ । वर्षाका कारण सडक भाँसिएपछि अवरुद्ध बनेको उक्त सडक बुधबारदेखि सञ्चालनमा आएको हो । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो जाँदा करिब १०० मिटर सडक भाँसिएको थियो । गत असारदेखि बन्द भएको सडक खुलाउनका लागि डोजरसहितका उपकरण प्रयोग गरिएको थियो ।
सडक अवरुद्ध हुँदा बागलुङ नगरपालिका–१० गलुवा, भकुण्डे, वडा नं १३ पैयुँपाटा, वडा नं १२ को अमलाचौरसहित दक्षिण बागलुङका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको थियो । बलेवा क्षेत्रबाट २० मिनेटमा सदरमुकाम बागलुङ बजार पुग्न सकिनेमा पहिरोका कारण दुई घण्टाको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । पूर्वाधार विकास कार्यालय बागलुङले गत साता पहिरोको अवस्था बुझेर तत्काल सञ्चालनमा ल्याउन गण्डकी प्रदेशअन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयमा लागत अनुमानसहित स्वीकृतिका लागि पठाएको थियो ।
मन्त्रालयबाट स्वीकृत हुन बाँकी रहेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर अनिल बर्देवाले जानकारी दिए । बडादसैँ नजिकिएपछि नागरिकको आवतजावत बढ्ने हुँदा सडक खुलाइएको उनको भनाइ छ ।
सूचना अधिकारी बर्देवाले भने, ‘लामो समयसम्म सडक बन्द हुँदा हजारौँ नागरिकको सास्ती खेप्नुप¥यो । निरन्तर वर्षा र पहिरो झरिरहँदा सडक खुलाउन समस्या भइरहेको थियो, अहिले वर्षा केही कम भएपछि दुई दिनसम्म जनशक्तिसहित विभिन्न उपकरण प्रयोग गरी पहिरो पन्छाएका हौँ । खर्च व्यवस्थापनका लागि पूर्वाधार विकास मन्त्रालयमा लागत अनुमान स्वीकृतिका लागि पठाएका छौँ, अझै स्वीकृत भएको छैन ।’
विगत तीन वर्षदेखि यस क्षेत्रमा पहिरो जाँदा पहिरो पन्छाउन रु करोड बढी खर्च भइसकेको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए । अघिल्लो वर्ष मात्र पूर्वाधार विकास कार्यालय र नगरपालिकाले करिब रु ५० लाख खर्च गरेर पहिरोमाथिको पानीलाई नजिकैको न्वारे खोलामा व्यवस्थापन गरी सडकको माथिल्लो भागमा जाली लगाउने काम गरेको उनले बताए ।
पहिरो व्यवस्थापनका लागि भू–गर्भविद्लको टोलीले अध्ययन गरेर प्रतिवेदन समेत बुझाइसकेको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार रकम नहुँदा पहिरो नियन्त्रण गरी सडकको दीर्घकालीन समाधान गर्न समस्या भएको उपप्रमुख खड्काले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा पहिरो व्यवस्थापनका लागि सङ्घीय सरकारबाट रु तीन करोड विनियोजन भएको छ ।
पहिरोका कारण कालीगण्डकी करिडोरसमेत अवरुद्ध हुँदै आएको छ । बर्खाभरि सडक अवरुद्ध हुँदा गाउँमा उत्पादन भएका तरकारी र दूध बजारसम्म पुर्‍याउन समस्या हुने गरेको स्थानीय किसान कुलराज पौडेलले बताए । ‘दूध र तरकारी बजारसम्म पुर्‍याउनका लागि यान्त्रिक पुलमार्फत कुश्मा हुँदै बागलुङ ल्याउने गरिएको छ । घुमाउरो सडक प्रयोग गर्दा ढुवानी खर्च बढी तिर्नु परिरहेको छ’, उनले भने ।

‘यमबुद्ध स्केटबोर्ड पार्क’ को सपना चाँडै पूरा हुँदैछ : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले तीन वर्ष लामो संघर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुन लागेको भन्दै खुशी प्रकट गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत उनले यस्तो जानकारी गराएका छन् । ६ करोड ७० लाखको लागतमा निर्माण हुने पार्कका केही तस्वीर पनि उनले सार्वजनिक गरेका छन् । आफू काठमाडौँ महानगरपालिकाको मेयर बनेदेखि नै काठमाडौँलाई सबैको सहर बनाउने उद्देश्यस्वरुप यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको लक्ष्य राखेको उनले बताएका छन् ।

‘सम्पदा जोगाउने कामसँगै युवाहरूको चाहनाअनुसारको सहर बनाउने योजनामा हामीले यमबुद्ध स्केटबोर्ड पार्क सुरु गरेका थियौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुरुमै बजेट छुट्याइएको थियो । काठमाडौँ महानगरपालिका–१६ मा बन्ने कुरा लगभग तय भइसकेको थियो। तर तत्कालीन वडाध्यक्ष स्वर्गीय मुकुन्द रिजालको निधनपछि त्यो ठाउँमा बनाउन जग्गा प्राप्त गर्न सकेनौं । त्यसपछि २ नम्बर वडामा कोशिस गर्‍यौं । नेपाल सरकारले जग्गा दिन नसकेका कारण तीन पटकसम्म प्रयास गर्दा पनि बनाउन सकिएन ।’

अहिले काठमाडौँ–५ का वडाध्यक्ष बीरेन्द्र प्रजापति र स्थानीय साथीहरूको अथक प्रयासमा १३ रोपनी सरकारी जग्गा संरक्षण भएको र सोही जग्गामा पार्क निर्माणको काम अघि बढेको मेयर बालेनको भनाई छ ।

अहिले यो पार्कको निर्माण कार्य करिब आधा सकिएको भन्दै उनले यो पार्क केवल खेल्ने ठाउँ मात्र नभएको बताएका छन् । ‘यो पार्क युवाहरूले संस्कृतिलाई अभिव्यक्ति दिने, कला–संगीतलाई प्रोत्साहन गर्ने र परिवारमैत्री सामुदायिक स्पेसका रूपमा रहने छ,’ उनले भनेका छन् ।

चट्याङ लागेर बालिकाको मृत्यु, बुबा–आमासहित पाँच जना घाइते

गुल्मी । गुल्मीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । बुबा–आमासहित अन्य पाँच जना घाइते भएका छन् । चट्याङ लागेर तीन वटा गोरु समेत मरेको प्रहरीले जनाएको छ ।

मदाने गाउँपालिका–५ झ्यानपानीमा बुधबार राति चट्याङ पर्दा स्थानीय नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको मृत्यु भएको हो । आफ्नै घरमा बुवा–आमासँग सुतिरहेको बेला परेको चट्याङ लाग्दा बालिकाको मृत्यु भएको हो ।

चट्याङ लागेर बालिकाका बुवा २३ वर्षीया नेरसिंह र आमा २२ वर्षीया सुन्तली घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । चट्याङ लागेर बालिकाको घटनास्थलमै मृत्यु भएको हो । घाइते पति–पत्नीलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात् थप उपचारको लागि जिल्ला अस्पताल प्यूठान लगिएको छ ।

त्यस्तै गुल्मीकै इस्मा गाउँपालिका–४ दोहोलीमा पनि हिजो परेको चट्याङले लागेर तीन जना घाइते भएका छन् । इस्मा ४ की ४६ वर्षीया निर्मला खत्री, इस्मा–५ बेसारीकी २५ वर्षीया कालीका खत्री र धुर्कोट गाउँपालिका–७ वाग्ला धरमपानीका ५८ वर्षीय कृष्णप्रसाद पन्थी चट्याङ लागेर घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये खत्रीद्वयको घरमै बसिरहेको अवस्थामा र पन्थीको मकै केलाउने क्रममा घरको आँगनमा चट्याङ लाग्दा घाइते भएका हुन् । घाइते सबैको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । यसैबीच चट्याङ लागेर गुल्मीको मालिका गाउँपालिका–४ खामदेशस्थित सामुदायिक वनमा दुर्गाप्रसाद अर्याल र चिरञ्जीवी अर्यालका तीन वटा गोरु समेत मरेका छन् ।

नौबिसे–मुग्लिन सडक खण्डको पहिरो पन्छाइयो, मुग्लिन–नारायणगढ खण्डको हटाइँदै

चितवन । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाइएको छ । तर, राति खसेको पहिरोले रोकिएका सवारी साधनहरुको अहिले अत्यधिक चाप छ । त्यसैले सवारी साधनहरुको लामो लाइन छ ।

गए राति जवाङखोला लगायतका स्थानमा पहिरो खसेपछि राजधानी काठमाडौंको लाइफलाइन मानिने पृथ्वी राजमार्ग ठप्प भएको थियो । तर डोजरहरु प्रयोग गरेर राति नै पहिरो हटाई सकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

मुग्लिन–नारायणगढ खण्डको तुइन खोलानेर झरेको पहिरो भने हटाउने क्रम जारी छ । बुधबार साँझ पानी परेकाले पहिरो पन्छाउने काम केहीबेर रोकिएको थियो । आज बिहानैबाट पहिरो पन्छाउने काम थालिएको छ । सबै पहिरो हटाएर बाटो खुलाउन कम्तिमा दुई दिन लाग्न सक्ने अनुमान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

काठमाडौँका सीडीओ हटाइए, पौडेललाई खटाइयो

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई हटाएर नयाँ प्रमुख खटाएको छ । बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा फाजिलमा रहेका सहसचिव इश्वराज पौडेललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर त्यहाँ रहेका रिजाललाई मन्त्रालयमा तानेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत पौडेललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी नै दिनेगरी केहि दिन अघि बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयमा सरुवा गरेर ल्याएको थियो । पौडेल करिब ८ वर्ष अघि मन्त्रालय मातहत कार्यरत सुन तस्करीसम्बन्धी छानविन समितिको संयोजक भएर काम गरेका थिए । उनकै अनुसन्धानपछि चर्चित सून तस्कर गोरे समेत पक्राउ परेका थिए ।

रिजाल तत्कालीन गृहमन्त्री रमेश लेखकका प्रिय पात्र हुन् । लेखक गृहमन्त्री हुदाँ रिजाललाई गृह मन्त्रालयको महत्वपूर्ण मानिएको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी लामो समयसम्म दिएपछि अन्तिम समयमा काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका थिए । काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट एक महिना नपुग्दै बर्हिगमन हुने रिजाल पहिलो सहसचिव हुन् ।

रिजालले काठमाडौंमा गत भदौ ९ गते प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए । उनले जिम्मेवारी सम्हालेको १५ दिन नपुग्दै जेनजीको आन्दोलन चर्किएको थियो । काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण भूमिका रहने काठमाडौंका प्रमुख जिल्ला अधिकारीले सुरक्षा व्यवस्थापन गर्न नसक्दा ७२ जनाको ज्यान जाने गरी आन्दोलन चर्किएको थियो भने संघीय संसददेखि सिंहदबार हुँदै अदालत र प्रहरी कार्यालय ध्वस्त भएका थिए ।

जेनजी आन्दोलनको शिकार किन भयो ओली सरकार ?

काठमाडौं । जेनजी आन्दोलनले देशका भौतिक सम्पदामा ठूलो क्षति मात्र पुगेन केपी शर्मा ओली नेतृत्वको सरकार पनि ढल्यो । भदौँ २३ गते भ्रष्टाचार र बेथितिको विरोध तथा सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध गरिएको प्रदर्शनका क्रममा १९ जनाको हत्या भएपछि २४ गते सडकमा उत्रिएका जेनजीको आन्दोलन नियन्त्रण बाहिर पुगेपछि बाध्य भएर ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिन पर्‍यो ।

जेनजीको आन्दोलनका क्रममा संसद भवन, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत र सिंहदरबारमा समेत प्रदर्शनकारीले आगजनी गरेपछि आन्दोलन नियन्त्रण बाहिर पुगेपछि ओलीले पदबाट राजीनामा दिए । यस्तै विभिन्न राजनीतिक दलको कार्यालय, नेताका घरहरू, प्रहरी चौकी समेत तोडफोड र आगजनीको निशानामा परे ।

विशेष गरी ओली नेतृत्वको सरकार ढल्नुमा उनकै अहंकार र दुई तिहाईको दम्भ भएको भन्दै चौतर्फी आलोचना भईरहेको छ । दुई तिहाई सांसद संख्याको दम्भ देखाएर प्रधानमन्त्री ओली कुशासन र दमनको बाटोमा हिँड्दा मुलुक अहिलेको अवस्थामा आइपुगेको आरोपहरु उनीमाथि लागेका छन् ।

कांग्रेस–एमाले सरकारको दमन र कुशासनकै कारण जेनजी पुस्ताका युवाहरूसहित जनताको आक्रोशले विष्फोटक रुप लिएको अन्य दलका नेताहरुको भनाई छ । विशेष गरी यो आन्दोलनलाई लिएर विश्लेषक तथा नेताहरुका आ–आफ्ना धारणा पनि यतिबेला सार्वजनिक हुन थालेका छन् । कसैले परिस्थितिको सही मूल्याङ्कन गर्न नसक्दा यस्तो भयावह आउन पुगेको बताईरहेका छन्, त कतिले ओलीले सम्भावित खतरालाई बेवास्ता गर्दा इतिहासमै अप्रिय घटना हुन पुगेको अड्कल लगाइरहेका छन् ।

तर यो आन्दोलन सुरु हुनुको मुख्य कारण तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु नै बन्न पुगेको छ । सामाजिक सञ्जाललाई आफ्नो दैनिक जीवनमा प्रयोग गरिरहेका युवापुस्ता एकाएक सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्दा आक्रोशित बने । धेरै सामाजिक सञ्जाल एकै पटक बन्द हुँदा अध्ययनदेखि व्यापार व्यवसायमा समेत यसको प्रयोग गरिरहेका युवाहरु आक्रोशित बन्दै सडक प्रर्दशनमा उत्रिए । जेनजी युवाले नेताका सन्तानको ऐयासी जीवन शैली र सर्वसाधरण नागरिकको दुःख र अभावबीचको अन्तर देखाउने भिडियो पोस्टहरु सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘नेपो बेबी’ अभियान चलाइसकेका थिए । यसले पनि नेताहरुप्रति युवाको आक्रोश बढाउन ‘आगोमा घ्यू’ थप्ने काम ग¥यो । सरकारले बन्द गराएकै सामाजिक सञ्जालबाट जुटेका युवा अन्ततः तोडफोड र आगजनीको अवस्था उत्रिनेसम्मको अवस्था बन्यो ।

जसका कारण ओली नेतृत्वको सरकार आन्दोलन र युवाको आक्रोशको शिकार बन्न पुग्यो । आन्दोलनको निशानामा सदियौं पुरानो इतिहास बोकेका धरोहर सिंहदरबार, न्यायलयका भवन, जनतालाई सुरक्षा दिने प्रहरी प्रशासन र सार्वजनिक सम्पत्ति बने । ठूलो जनधनको क्षति भएको यो आन्दोलनको भागिदार को हो र यसको जिम्मा कसले लिने भन्ने विषय अन्योलमा छ । जेनजीले उठाएका माग सरकारले समयमै नसुन्दा दुई तिहाइको बलियो ओली सरकार ढल्न पुग्यो ।

को हुन् सञ्चारमन्त्री बनेका जगदिश खरेल, किन लाग्यो कांग्रेसको ‘ट्याग’ ?

काठमाडौं । साढे दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका जगदिश खरेल इमेज टेलिभिजनमा लामो समयदेखि काम गर्दै आएका पत्रकार हुन् । सञ्चारमन्त्री बन्दासम्मको उनको ‘इमेज’ तयार गर्ने पछिल्लो कार्यक्रम थियो–हटसिट ।

समसामयिक राजनीतिक, सामाजिक विषयमा आधारित त्यही टक शो ‘हटसिट’ बाट उठेर उनी सञ्चारमन्त्रीको सिटमा पुगेका छन् । अब उनका लागि टिभी सेटको होइन नेपालको संक्रमणकालीन राजनीतिलाई पार लगाउने गरी बनेको अन्तरिम सरकारलाई सफल बनाउन भूमिका खेल्नुपर्ने सञ्चारमन्त्रीको हटसिट मिलेको छ ।

उनी टेलिभिजन स्क्रिनमा राजनीतिक नेता, सामाजिक अभियन्ता, प्रशासक देखि न्यायाधीशहरूसम्मलाई बोलाएर तिखा र कडा र चोटिला प्रश्न गर्थे । सामाजिक सञ्जालहरूमा अन्तर्वार्ता दिने व्यक्तिका विचारभन्दा उनले सोधेका प्रश्न बढी भाइरल हुने गरेका थिए । शासकीय जिम्मेवारीमा रहेकाहरूलाई प्रश्न गर्ने खरेल अब वास्तविक रुपमा ती प्रश्नहरूको जवाफ आफैं दिनुपर्ने ठाउँमा आइपुगेका छन् ।

‘मैले आफ्नो सञ्चारकर्ममा वर्षौंदेखि अनेकौं प्रश्न गर्दै आएको थिएँ । आज मलाई एउटा ऐतिहासिक जिम्मेवारी आएको छ । अब म मैले सोधेका प्रश्नहरूका कतिपय जवाफ खोज्ने छु,’ नव नियुक्त सञ्चारमन्त्री खरेलले भन्छन् । उनले आफू अहिले कुन अवस्थामा मन्त्री बनेको हेक्का रहेको बताए । ‘एउटा आन्दोलनबाट परिवर्तनका आवाज सम्बोधन गर्नेगरी यो सरकार बनेको छ’ उनले भने, ‘जेनजीहरूका आवाज र भावनालाई प्रतिनिधित्व गर्दै जिम्मेवारी पूरा गर्नेछु ।’

२०५९ सालमा इमेज च्यानल टिभी सुरुवात हुँदादेखि त्यहिँ काम गर्न थालेका दोलखाका खरेलको सञ्चार कर्म मात्र होइन उनको शैक्षिक पृष्ठभूमि पनि यही विषयमा जोडिएको छ । उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आम सञ्चार स्नातकोत्तर उपाधि हासिल गरेका छन्। हाल चाहिँ उनी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति’ विषयमा विद्यावारिधि गरिरहेका छन् ।

इमेज टेलिभिजनमा उनले तीन महिना अघि मात्र उनले त्यहाँको समाचार कक्षको सम्पादक रुपमा जिम्मेवारी सम्हालेका थिए । तर केही महिनामै उनलाई त्यो भन्दा ठूलो राजकीय पदको अवसरमा मिलेको छ । राजनीतिक दलहरू भन्दा बाहिरका व्यावसायिक व्यक्तिहरूलाई मन्त्रीको जिम्मेवारीमा ल्याउने योजनाअनुसार प्रधानमन्त्री सुशीला कार्कीले व्यक्तिहरूको पहिचान गरिरहेकी थिइन् ।

त्यसक्रममा खरेल प्रधानमन्त्री कार्कीको नजरमा परे । खरेलकै टक शो हटसिटमा बसेर प्रधानमन्त्री हुनु अघि कार्कीले धेरै पटक अन्तर्वार्ता दिएकी छन् । पत्रकारिता कर्मका त उनी जानकार नै हुन् । तर अहिले उनले सम्हालेको मन्त्रालय त्यतिमा मात्र सीमित छैन ।

सञ्चारमन्त्रीले सरकारको प्रवक्ताको रुपमा पनि काम गर्नुपर्ने हुन्छ । त्यसैले अब उनले खेल्ने भूमिकाले सरकारको सन्देश जनतासम्म पुर्‍याउने सेतुको रुपमा पनि काम गर्छ । विगतका सञ्चारमन्त्रीकै कारण सरकार विवादमा आउने गरेका इतिहास छन् । जुन उनले चिरेर उनी अघि बढ्छन् कि बढ्दैनन् परीक्षाको घडी सुरु भएको छ । चुनावी सरकार भएकाले चुनावका लागि माहोल बनाउनेदेखि सञ्चार मन्त्रालय मातहतका निकायहरूलाई दैनिक परिचालन गर्ने जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण छ ।

सञ्चार मन्त्रालयसँगै जोडिएको सामाजिक सञ्जाल दर्तासम्बन्धी विषयका कारण जेनजी आन्दोलन समेत हुने अवस्था आयो । यसैको बलमा यो सरकार पनि गठन भएको हो । तर सामाजिक सञ्जालसम्बन्धी सरकारको नीति के कस्तो हुने भन्ने अझै केही स्पष्टता जरुरी नै छ । यो विषयलाई उनले आगामी दिनमा कसरी दीर्घकालीन समाधान खोज्न प्रयास गर्छन् त्यो पनि महत्वपूर्ण हुनेछ ।

नेपालका ग्रामीण क्षेत्रहरुमा इन्टरनेट, मोबाइल सेवा, डिजिटल साक्षरता वा सूचना प्रविधिको पहुँच अझै सीमित छ । यो समस्या समाधान गर्दा आवश्यक पर्ने बजेट, पूर्वाधार, निजी र सार्वजनिक साझेदारी, टेक्नोलोजीको पहुँच लगायतका विषय पनि यो मन्त्रालयसँग जोडिएका छन् ।
डेटा सुरक्षा, साइबर अपराध रोकथाम, अनलाइन प्लाटफर्महरूको नियमन लगायतका विषय यही मन्त्रालयका कार्यक्षेत्र हुन् । मन्त्रीको रूपमा यी विषयहरूमा कानूनी, प्राविधिक अनि सामाजिक दृष्टिकोण एकैसाथ समेटेर खरेल कसरी अघि बढाउँछन् त्यो उनका लागि परीक्षाको विषय हो ।

पत्रकार र मिडिया संस्थाहरूलाई सुरक्षित वातावरण सुनिश्चित हुने आधार तयार पार्ने, प्रेस स्वतन्त्रता, मिडिया आचारसंहिता, मिस इन्फरमेसन डिसइन्फरमेसनविरुद्ध लड्ने लगायतका काम पनि सञ्चार मन्त्रालयको काक्र्ष क्षेत्रभित्र पर्छन् । यी कार्यक्षेत्रका काम गर्न खरेलले कति कुशलतापूर्वक सम्पन्न गर्न सक्छन् त्यसकै आधारमा अब उनको मूल्यांकन हुनेछ ।

के हो कांग्रेस क्रियाशिल सदस्यको आरोप ?
पत्रकारिताबाट सरकारमा पुगे लगतै मन्त्री खरेलमाथि एउटा आरोप लागिसकेको छ । गैरराजनीतिक दलको सरकार भनिए पनि नवनियुक्त सञ्चारमन्त्री कांग्रेसका सदस्य हुन् भन्दै सामाजिक सञ्जालहरुमा टिकाटिप्पणी भइरहेका छन् । केहि सञ्चारमाध्यमले त नव नियुक्त सञ्चारमन्त्री खरेल नेपाली कांग्रेसको सक्रिय सदस्य रहेको पुष्टि भएको भन्दै समाचार लेखेका छन् ।

नेपाल तथ्य जाँचका अनुसार खरेल दोलखाको कालिन्चोक गाउँपालिका–नम्बर १ बाट कांग्रेसको क्रियाशील सदस्य रहनुका साथै क्षेत्रीय प्रतिनिधि समेत चुनिएको दावी गरिएको छ । खरेल सञ्चार मन्त्री नियुक्त भएसँगै सामाजिक सञ्जालमा उनी नेपाली कांग्रेसको सदस्य भएको दाबी गर्दै पोस्टहरू भाइरल भएका छन् । यस्तो दाबी सही हो कि होइन भन्ने अन्यौल चिर्न ह्वाट्सएपका सूचनालाई तथ्य–जाँचको कोशिस गरेको पाइएको छ ।

फेसबुकमा अरुण नेपाली लुइँटेलले गत असोज ६ गते चार वटा फोटोको कोलाज बनाउँदै एक पोस्ट गरेका छन् । उक्त पोस्टमा उनले सञ्चारकर्मी खरेल नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको दावी गरेका छन् ।

यो तथ्यजाँचमा १ हजार १ सय जनाले रियाक्ट गरेको सो पोस्टमा १८० कमेन्ट छन् । यो पोस्ट १५५ पटक शेयर समेत गरिएको देखिएको छ । खरेल नेपाली कांग्रेसको सदस्य रहेको दावी एक्स (पहिले ट्विटर भनेर चिनिने) मा पनि भाइरल भएको छ । भीम वली नामक एक्स प्रयोगकर्ताले सञ्चारमन्त्री खरेल कांग्रेसको सदस्य रहेको दावी गर्दै पोस्ट गरेका छन् ।  यो तथ्यजाँचमा १०० जनाले लाइक गरेको उक्त पोस्ट २४ पटक रिपोस्ट गरिएको छ भने १४ हजार भ्युज देखिएको छ ।

के हो क्रियाशील सदस्यताको विषय ?
नेपाली कांग्रेसको विधान अनुसार पार्टीमा दुई किसिमको सदस्यता हुन्छ– सदस्य र क्रियाशील सदस्य । सदस्य भएको एक वर्षपछि निम्न योग्यता पुग्नेलाई मात्र क्रियाशील सदस्यता दिइन्छ ।

के हो तथ्य ?
तथ्य जाँचका लागि नेपाली कांग्रेसको आधिकारिक वेबसाइट सहयोग लिएको देखिन्छ । नेपाली कांग्रेसको आधिकारिक वेबसाइटमा बागमती प्रदेशको दोलखा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १, प्रदेश सभा क्षेत्र २, कालिञ्चोक गाउँपालिका–७ को क्रियाशील सदस्यहरुको नामावलीको क्रम संख्या १५३ मा जगदीश खरेलको नाम भेटिएको छ ।

त्यसमा उल्लेख भएका जगदिश खरेल सञ्चारकर्मी हुन् कि हैनन् भन्ने विषयमा गुगलमा खोज्ने क्रममा ओटिभी नेपाल नामक न्युजपोर्टलमा एउटा समाचार भेटिएको तथ्य छ । २०७८ असोज ५ गते प्रकाशित समाचारमा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका–७ सुनखानीबाट जिल्ला अधिवेशनमा भाग लिन क्षेत्रीय प्रतिनिधि चुनिएर आएका हुन् भनिएको छ ।

त्यसैगरी ‘नागरिक’ राष्ट्रिय दैनिकमा २०७८ असोज ४ गते प्रकाशित ‘दोलखा कांग्रेस अधिवेशनमा फरक पेशाका नयाँ अनुहार’ शीर्षकको समाचारमा जगदीश खरेलको फोटोसहित लेखिएको छ–प्रख्यात अन्तर्वार्ताकार जगदिश खरेल समेत कांग्रेसको सक्रिय राजनीतिमा जोडिँदै कालिञ्चोक गाउँपालिका–७ सुनखानीबाट जिल्ला अधिवेशनमा भाग लिन क्षेत्रीय प्रतिनिधि चुनिएर आएका हुन् ।

सरकारी अखबार गोरखापत्रको ७ असोज २०८२, मङ्गलबार प्रकाशित समाचारमा सञ्चार मन्त्री खरेल दोलखाको कालिञ्चोक गाउँपालिका, सुनखानी भदौरेका स्थायी बासिन्दा भएको उल्लेख छ । कालिञ्चोक गाउँपालिकाको आधिकारिक वेबसाइट अनुसार उक्त ठाउँ वडा नम्बर ७ मा पर्छ ।

नेपाली कांग्रेसको आधिकारिक वेबसाइटमा कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ कै क्रियाशील सदस्यहरुको सूचीमा खरेलको नाम रहेकोले उक्त व्यक्ति हालका सञ्चार मन्त्री नै रहेको पुष्टि हुन्छ । अतः सामाजिक सञ्जालमा भाइरल भइरहेको सञ्चारमन्त्री खरेल नेपाली कांग्रेसका क्रियाशील सदस्य भएको दावी सही देखिन्छ । उनी २०७८ असोजमा जिल्ला अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि चुनिएका थिए ।

विध्वंसको असर वैदेशिक रोजगारीमा : धमाधम रोकिंदै नेपालीको भिसा

काठमाडौं । प्रमुख श्रम गन्तव्य देशहरुले नै नेपालीका लागि धमाधम भिसा प्रतिबन्ध लगाउन थालेका छन् । अहिलेसम्म पाँच देशले नेपालीहरुलाई भिसा नदिने भएका छन् । युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, मलेसियाले नेपालीलाई पूर्णरुपमा भिसा नदिने निर्णय गरेका छन् भने क्यानडा र दक्षिण कोरियाले आंशिक रुपमा भिसा नदिने निर्णय गरेका छन् ।

वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य राष्ट्रले नेपालीलाई भिजिट र वर्किङ भिसामा रोक लगाउँदा यसले नेपाल र नेपालको अर्थतन्त्रमा ठूलो असर गर्ने देखिएको छ । दक्षिण कोरियाले पनि नेपालीलाई दिँदै आएको ई–७ भिसा रोकेको छ भने क्यानडाले माइग्रेसन भएर जान चाहने नेपालीलाई नलिने भएको हो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार जेनजी आन्दोलनमा देखिएको हिंसात्मक स्वभाव र आन्दोलनपछि कारागारबाट भागेका कैदीबन्दीलाई मुख्य कारण देखाइएको छ । नेपालीलाई भिसा दिन रोकेका र रोक्ने तयारी गरिरहेका देशले त्यसो गर्नु पछाडि दुई वटा कारण रहेको स्पष्ट संकेत नेपाललाई दिएका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, दुई कारणमा पहिलो छ, ‘जेनजी आन्दोलनमा नेपालका कारागारबाट भागेका कैदीबन्दी ।’ दोस्रो कारण हो, ‘नेपालीमा देखिएको हिंसात्मक स्वभाव ।’ ‘कारागारबाट भागेका कैदी—बन्दीहरू आफ्नो देशमा आउँलान् भन्ने ठूलो चिन्ता यूएई, कतार र मलेसिया सरकारलाई परेको छ । यस्ता अपराध गरेका व्यक्तिहरु आफ्नो देशमा प्रवेश गरे आफ्नो देशमा अपराध बढ्ने र अशान्ति हुने बुझाई उनीहरूको छ’, परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

यहि भदौ २३ र २४ गते देशभर भएको जेनजी प्रदर्शनमा १५ हजार कैदी—बन्दी कारागारबाट भागेका थिए । नेपालमा कारागारमा रहेका करिब २९ हजार कैदी—बन्दीमध्ये आधाभन्दा बढी जेनजी प्रदर्शनका क्रममा कारागारबाट भागेका थिए । भागेको १२ दिन बितिसक्दा पनि हालसम्म अझै ९ हजार जति कैदीबन्दी फर्केका छैनन् ।

‘जेनजी आन्दोलनमा धेरै सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भयो, यसले विदेशीमा नेपालीको स्वभावै हिंसात्मक हुन् भन्ने परेको छ । जसकारण पनि उनीहरूले नेपालीलाई दिने भिसामा कडाई गरेका छन् । यसले विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थी पनि प्रभावित हुने देखिन्छ’, परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो । गृह मन्त्रालय स्रोतका अनुसार, जेनजी प्रदर्शनमा एकै दिन देशभरका ६०५ वटा सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको थियो । यो प्रारम्भिक विवरण हो । यो संख्या अझै ठूलो छ ।

जेनजी प्रदर्शनमा तोडफोड र आगजनी गरिएकामध्ये २६३ वटा सरकारी कार्यालय पूर्ण ध्वस्त छन् । ३४२ वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको छ । प्रदर्शनकारीको आक्रमणबाट देशभरका ८२ वटा प्रहरी कार्यालय पूर्ण क्षति र १२४ वटामा आंशिक क्षति भएका थिए ।

जेनजीले भदौ २३ गते काठमाडौं उपत्यकासहित देशभर प्रदर्शन गरेका थिए । बन्द गरिएका सामाजिक सञ्जाल खुलाउनु पर्ने र भ्रष्टाचारविरुद्ध जेनजीले प्रदर्शन गरेका थिए । भदौ २३ गतेको प्रदर्शनमा प्रहरीले गरेको दमनमा देशभर १९ जनाको मृत्यु भएपछि भदौ २४ गतेको प्रदर्शन हिंसात्मक बनेको थियो ।

प्रदर्शनकारीले भदौ २४ गते सिंहदबार र त्यहाँ रहेका अन्य मन्त्रालयहरू, सर्वोच्च अदालत, संसद भवनलगायत सरकारी, निजी र व्यापारिक भवनहरूमा तोडफोड र आगजनी गरेका थिए । प्रदर्शनकारीले राजनीतिक दलका नेता तथा कार्यकर्ताका घरमा पनि तोडफोड र आगजनी गरेका थिए । अन्तर्राष्ट्रिय चेन होटल हिल्टनमा पनि आगजनी गरिएको थियो ।

तोडफोड र आगजनीका घटना सबै भदौ २४ गते विहान १० बजेदेखि राति १० बजेसम्म १२ घण्टाको अवधिमा भएका थिए । ‘यति छोटो अवधिमा यति धेरै सरकारी कार्यालय, निजी तथा व्यापारिक भवन तोडफोड र आगजनी हुनु विश्वमा विरलै हुने घटना हुन् । यसले गर्दा नेपालीहरूमा हिंसात्मक स्वभाव रहेछ भन्ने सोच विदेशीमा पलाएको छ । त्यहीकारण उनीहरू भिसा रोक्नेसम्मको निर्णय गर्न पछि परेका छैनन्’, परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो ।

नेपालीलाई अबुधाबी दूतावासको आग्रह : यूएईको नियम पालना गरिदिनुस्
नेपाली राजदूतावास अबुधाबीले संयुक्त अरब इमिरेट्समा कार्यरत नेपालीलाई त्यहाँको नियम पालना गर्न आग्रह गरेको छ । युएईस्थित नेपाली राजदूतावासले नेपालीलाई मर्यादा र अनुशासन सम्झाउँदै ११ बुँदामा सचेत गराएको छ ।

मंगलबार अत्यन्त जरुरी सूचना प्रकाशित गरी दूतावासले संयुक्त अरब इमिरेट्समा विभिन्न पेशा र व्यवसायमा कार्यरत रहेका नेपालीहरूलाई आफू कार्यरत कम्पनी र बसोबास गर्ने स्थानमा सधै मर्यादित र अनुशासित भई आफ्नो पेशा र व्यवसायप्रति सधै इमान्दार, कर्तव्यनिष्ट रही आफु बसोबास गर्दै आएको मुलुकको युएईको नियम, कानून, मूल्य मान्यता र अनुशासन पूर्ण रुपमा पालना गर्न अनुरोध गरेको छ ।

‘बिगत केही समयदेखि युएईमा रहेका कतिपय नेपालीहरु मादक पदार्थको सेवन तथा झैझगडा,बैंकिङ्ग कसुर, आपसी नगदी लेनदेन र झैझगडा, लागुऔषध ओसारपसार, इमिरेट्स आईडीको दुरुपयोग, साइबर क्राइम, अध्यागमन नियमको र ट्राफिक नियमको उलङ्घन, फ्रिल्यान्स भिसाको प्रलोभन जस्ता गतिविधिहरूमा परी प्रत्येक दिन समस्यामा पर्ने गरेको सूचना दूतावासमा प्राप्त हुने गरेको र सो संख्या बढ्दै गैरहेको देखिन्छ ।’

दूतावासले भनेको छ, ‘यी सबै विषयहरु युएईको कानून तथा नियम अनुसार दण्डनीय हुने हुँदा देहायका विषयहरुमा सचेत हुन तथा बिशेष सावधानी अपनाउनु हुन राजदूतावास सम्पूर्ण नेपाली समुदायमा हार्दिक अनुरोध गर्दछ । हालै भएको जेनजी आन्दोलनपछि यूएईले नेपालीलाई यूएईले भिजिट भिसा रोक लगाएको छ भने वर्किङ भिसामा कडाइ गरेको छ ।

परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल
संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका देशले नेपालीलाई भिसामा कडाइ गरेपछि परराष्ट्र मन्त्रालयले सहज बनाउन कुटनीतिक पहल थालेको छ ।

परराष्ट्र मन्त्रालयले सम्बन्धित राजदूतावासमार्फत सहजीकरणको पहल थालेको हो । यूएईले भिजिट भिसा रोक लगाएको छ भने वर्किङ भिसामा कडाइ गरेको छ ।

त्यस्तै मलेसिया, कतार, साउदी अरेबिया लगायतका देशले समेत वर्किङ भिसामा कडाइ गरेका छन् । यो विषयमा परराष्ट्रले सम्बन्धित देशमा रहेका नेपाली राजदूतावासमा बुझ्न थालेको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भिसामा कडाइ गरेको विषय आएकाले बुझ्ने काम भइरहेको बताए ।

‘केही राष्ट्रले किन यस्तो कडाइ गरेका हुन् भन्नेबारेमा हामी दूतावाससँग बुझिरहेका छौँ,’ परराष्ट्र प्रवक्ता क्षेत्रीले भने । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा कैदीबन्दी सामूहिक रूपमा कारागारबाट भागेका थिए भने सुरक्षाकर्मीका हातहतियार लुटिएका थिए ।

सोही कारण आफ्नो देशमा आउनेहरू आपराधिक गतिविधिमा संलग्नहरू आउन सक्ने भन्दै ती देशले नेपाली नागरिकमाथि भिसा कडाइ गरेको जनाइएको छ । यसलाई सहज बनाउने प्रयास भइरहेको परराष्ट्रले जनाएको छ । गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) भित्रका देशहरूले भिसामा कडाइ गर्न थालेपछि परराष्ट्रले पहल थालेको हो ।

जीसीसी अन्तर्गतका एउटाले कठोर नीति अपनाएपछि अन्य सदस्यले पनि त्यसलाई फलो गर्ने प्रचलन छ । सोही आधारमा यूएईले गत सेप्टेम्बर १५ तारिखबाट भिसामा कडाइ गरेपछि अन्य देशले समेत त्यहि अनुसार कडाइ गर्न थालेका हुन् । जीसीसीमा यूएईसहित कतार, साउदी अरब, बहराइन, कुवेत र ओमान रहेका छन् ।

भागेका कैदीहरू आफ्नो देशमा आउन सक्ने भन्दै सुरूमा यूएईले भिजिट भिसा दिन बन्द गरेको थियो भने वर्किङ भिसामा कडाई गरेको थियो। त्यसपछि मलेसिया, कतार, साउदी लगायतका देशले समेत भिसामा कडाइ गरेको मेनपावर व्यवसायीहरूले बताएका छन् ।

‘सूचनाको पहुँच विस्तार गर्न जनस्तरसम्म चेतना अभिवृद्धि गर्नुपर्छ’

काठमाडौँ । महान्यायाधिवक्ता सबिता भण्डारीले सूचनाको पहुँच विस्तार गर्न स्थानीयतह हुँदै जनस्तरसम्म पुगेर जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएकी छिन् ।

यही सेप्टेम्बर २८ मा पर्ने ‘अन्तरराष्ट्रिय सूचना दिवस’ का अवसरमा राष्ट्रिय सूचना आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा महान्यायाधिवक्ता भण्डारीले सूचना लिने र दिने दुवै पक्षलाई निश्चित तालिममार्फत सचेतना अभिवृद्धि गराउनुपर्ने आवश्यकता औँल्याएकी छिन्। उनले यसका लागि आयोगले ‘सूचना साक्षरता’ अभियानलाई देशव्यापी रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिएकी छिन् ।

आयोगको स्थापनाकालमा आफू आयुक्त भएको स्मरण गर्दै महान्यायाधिवक्ता भण्डारीले विगतमा सूचनाको हकलाई व्यावहारिक रूपमा बुझाउन निकै चुनौतीपूर्ण रहेको बताएकी हुन् । “हामीले एउटा कोठाबाट आयोगको जिम्मेवारी सुरु गरेका थियौँ । वर्तमान अवस्थामा सूचनाको हकको पूर्ण कार्यान्वयनका लागि टोलटोल पुगेर यसको महत्त्व बझुाउन जरुरी छ”, उनले भनेकी की छिन्। “नभए, सूचनाको हकको कार्यान्वयन पक्ष हराएर जाने खतरा हुन्छ ।”

कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले वातावरण र सूचनाको हकसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्रमा वातावरण के हो जलवायु परिवर्तनले वातावरणमा परेको प्रभाव र यसमा सूचनाले पारेको सकारात्मक प्रभावबारे जानकारी दिएको थिए । उनले सूचानाको पहुँच विस्तार गर्दै पारदर्शी कार्यसम्पादनमा सबैले जोड दिनुपर्ने बताए ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा सुरेशप्रसाद आचार्यले पछिल्लो समय नागरिक हितको चासो भन्दा पनि व्यक्तिगत चासोका विषयमा सूचना माग्ने प्रवृत्ति बढेको बताए । उनले डिजिटिल माध्यममा सूचनाको प्रवाह बढ्दै गएको भन्दै सत्य र वास्तविक सूचना छुट्याउन साक्षरता अभियान आवश्यक पर्नेमा जोड दिए।

सूचना तथा प्रसारण विभागका महानिर्देशक उदयबहादुर राना मगरले हालै भएको जेनजी प्रदर्शनले सूचना पाउनुपर्ने मौलिक हकको महत्व र शक्ति कति छ भन्ने स्पष्ट उदाहरण प्रस्तुत गरेको धारणा राखे ।

सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टले अहिलेको डिजिटल साक्षारताका बारेमा बढी ध्यान दिनुपर्ने बताए । राष्ट्रिय सूचना आयोगका आयुक्त दुर्गा भण्डारी पौडेलले आयोगले सीमित स्रोतसाधानको सदुपयोग गर्दै सूचनाको हकको महत्त्व बुझाउन स्थानीय तहसम्म जोडिने प्रयास गरिरहेको जानकारी दिएकी छिन्  ।

पहिरोमा परी दुई बालिका बेपत्ता, प्रहरीद्वारा खोजी जारी

सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाउँपालिका–१ जलबिरेस्थित बलेफी–ढाडे भित्री सडक खण्डमा आज दिउँसो पहिरोमा परी दुई बालिका बेपत्ता भएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका–२ भोटे फुल्पिङ घर भई जुगल गाउँपालिका–२ गोल्छेमा रहेको मामाघर जाँदै गरेका ज्याङजेङ लामाकी छोरी १७ वर्षीया फूलमाया लामा र निजकी बहिनी पाँच वर्षीया मनमाया लामा पहिरोमा परेर बेपत्ता भएको प्रहरी उपरीक्षक तथा जिल्ला प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

आज दिउँसो करिब ४ः४५ बजे सडकमाथिबाट लेदो सहितको पहिरोमा परी उनीहरू बेपत्ता भएका हुन् । घटनापछि इलाका प्रहरी कार्यालय जलबिरेबाट प्रहरी निरीक्षक गजेन्द्र रावतको नेतृत्वमा १० जनाको प्रहरी टोली परिचालन भई खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।