`

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबारे मन्त्री पुन : संगठित रूपमा चुनावमा भाग लिनुहोस्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आओस् भन्ने सपना देखेका नेपालीहरूलाई संगठित रूपमा चुनावमा भाग लिन आह्वान गरेका छन् ।

पुराना नेताहरू फालेर स्वच्छ युवा नेताहरूको अत्यधिक बहुमतको सरकार नबनाएसम्म ठूलो परिवर्तन सम्भव नहुने भएकाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा केन्द्रित हुन मन्त्री पुनले अपिल गरेका छन् ।

मन्त्री पुनले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रस्ट आह्वान–भ्रष्टाचारलाई सकेसम्म कम गरेर सारा जनतालाई सुशासन दिने सरकार बनोस्, नेपाल आर्थिक रूपमा सम्पन्न बनोस्, विदेशीहरूले चलखेल गर्न नपाउन् र प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आओस् भन्ने सपना देख्नु भएका सम्पूर्ण नेपालीहरूले योग्य, नैतिकवान र दृढ संकल्प भएको युवा जनप्रतिनिधिहरू छान्न कत्ति पनि झैझगडा नगरीकन संगठित रूपमा चुनावमा भाग लिने तयारीमा तुरुन्त लाग्नुहोस् भन्ने आह्वान गर्दछु । कुहिएका नेताहरू फालेर स्वच्छ युवा नेताहरूको अत्यधिक बहुमतको सरकार नबनाएसम्म ठूलो परिवर्तन सम्भव छैन ।’

जेनजी आन्दोलको एउटा माग प्रत्यक्ष रूपमा चुनिएको सरकार प्रमुख हुनुपर्ने पनि हो भनेर आवाज अहिले उठिरहेको छ । तर प्रधानमन्त्री सुशीला कार्कीले शासकीय स्वरूप परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने र संविधान संशोधन वर्तमान सरकारको कार्यक्षेत्रभित्र नपर्ने बताएकी छन् । हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आगामी निर्वाचनपछि मात्रै संविधान संशोधन हुनसक्ने बताइन् ।

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, गाडीको लामो जाम

काठमाडौँ । मंगलबारदेखि बन्द भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । मुग्लिन नजिकै तुइन खोलामा खसेको पहिरो पन्छाएसँगै गए राति साढे १० बजेदेखि सडक सञ्चालनमा आएको हो ।

सडक सञ्चालन भएसँगै रोकिएका सयौँ गाडी गन्तव्यतर्फ लागेका छन् । रोकिएका गाडी आलोपालो सञ्चालन भइरहेकाले लामो जाम भएको छ। यसअघि पनि पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको थियो । पहिरो पन्छाए पनि जोखिम कायमै रहेकाले सावधानीपूर्वक गाडी चलाउन र लेन अनुशासनको पालना गर्न प्रहरीले आग्रह गरेको छ ।

मुग्लिन–नारायणगढ सडक हुँदै दैनिक १० हजार बढी गाडी गुड्ने गर्छन् । काठमाडौँ ओहोरदोहोर गर्ने अरू मुख्य सडकहरुमा यतिबेला निर्वाध रुपमा गाडी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ । यही असोज ७ गते मंगलबार करिब साढे ४ बजेदेखि सो सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो । बिहीबार राति साढे १० बजे पहिरो पन्छाउने काम सकिए लगत्तै सडक दुईतर्फी नै सुचारु भएको हो ।

पहिरो पन्छाउने काम बुधबार (हिजो) बिहानबाट मात्र थालिएको थियो । बिहीबार साँझ अबेरसम्म पनि पहिरो पन्छाउने काम नसकिएपछि फ्लडलाइट बालेर काम गरिएको थियो । यसबीचमा १६० मिटर लामो पहिरो पन्छाउन ५ वटा बढी डोजर प्रयोग गरिएको थियो । यो सडकखण्डमा भएको निरन्तरको अवरोधले यात्रुहरू समस्यामा पर्दै आएका छन् ।

सडकमा सवारी साधनहरूको लामो जाम लागेकाले सहज रूपमा यात्रा गर्न भने केही समय लाग्ने छ । काठमाडौं जोड्ने मुख्य लाइफलाइनका रूपमा रहेको यो राजमार्ग पहिरोका कारण अवरुद्ध हुँदा यात्रुले निकै सास्ती बेहोरे । अझ नेपालीहरूको महान चाड दशैंका बेला सडक अवरुद्ध हुँदा गन्तब्यतर्फ प्रस्थान गरेका यात्रु सडकमै अलपत्र भए ।

भ्रष्टाचारबारे सरकारले प्रष्ट जानकारी पाइसक्यो, छानविन हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले विगतका सरकारका पालामा भएका भ्रष्टाचारबारे सबै जानकारी पाइसकेको बताएकी छन् । आज (बिहीबार) पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै कार्कीले यसअघि भए गरेका भ्रष्टाचारको विषयमा प्रस्ट जानकारी पाइसकेको बताएकी हुन् ।

‘वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सम्बन्धमा यो छोटो समयमा प्रस्ट जानकारी पाइसकेको छ,’ उनले भनिन्, ’तसर्थ त्यसको आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने छ ।’

‘नेतामा घरमा जलेका नोटबारे छानबिन सुरु भइसक्यो’
प्रधानमन्त्री सुशीला कार्कीले भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नेताहरूका घरमा ठूलो मात्रामा भेटिएका नोटबारे छानबिन सुरु भएको जानकारी दिएकी छन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।

‘प्रदर्शनका क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा अस्वाभाविक रूपमा देखिएका नगद रकमका सन्दर्भमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरु गरिसकेको छ,’ उनले भनिन् । जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, तत्कालीन ऊर्जामन्त्री दीपक खड्कालगायतको घरमा जलेका नोटहरू भेटिएका दृश्य सामाजिक सञ्जालमा देखिएका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ती नोटहरू संकलन गरी अनुसन्धान सुरु गरेको हो ।

सञ्चारमन्त्री खरेललाई तोकियो सरकारकाे प्रवक्ता

काठमाडौं । सरकारको प्रवक्तामा जगदीश खरेल नियुक्त भएका छन् । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चारमन्त्री खरेललाई सरकारको प्रवक्तामा नियुक्त गरेको हो ।

फागुन २१ भित्र चुनाव गर्न प्रतिबद्ध छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउने मुख्य लक्ष्यका साथ आफ्नो अन्तरिम सरकारले काम गरिरहेको बताएकी छन् । आज (बिहीबार) राष्ट्रका नाममा सम्बोधन गर्दै उनले ६ महिनाभित्र निष्पक्ष निर्वाचन गराउने मुख्य जिम्मेवारीसहित आफू प्रधानमन्त्री बनेको स्मरण गर्दै निर्वाचनका लागि आवश्यक जनशक्ति, बजेट, सामग्री र सुरक्षाको तयारी सुरु भइसकेको बताइन् ।

उनले १८ वर्षका जेनजी युवा पुस्तालाई मताधिकार प्रदान गर्न र मतदाता नामावली अद्यावधिक गर्न अध्यादेशमार्फत निर्वाचन कानुन संशोधन गरिसकिएको जानकारी दिइन् । विदेशमा रहेका नेपाली नागरिकहरूलाई पनि मतदानमा सहभागी गराउने सम्भावनाबारे निर्वाचन आयोगसँग छलफल भइरहेको उनले उल्लेख गरिन् ।

‘स्वतन्त्र, भयरहित तथा निष्पक्ष निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत तथा सम्बद्ध सबै सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गर्दछु,’ उनले भनिन् । प्रधानमन्त्री कार्कीले देशैभर शान्तिपूर्ण वातावरण कायम राख्न सबैलाई आग्रह गरेकी छन् । उनले ६ महिने चुनावी सरकारले आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था नरहेको स्वीकार गर्दै आफ्नो मुख्य ध्यान निर्वाचन सम्पन्न गराउनमा केन्द्रित हुने स्पष्ट पारिन् ।

होमस्टे प्रवर्द्धनका लागि अतिथि सत्कार तालिम

काठमाडौँ । ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘अतिथि सत्कार तथा प्राथमिक उपचारसम्बन्धी एकीकृत तालिम’ आयोजना गरिएको छ ।

मधेस प्रदेशअन्तर्गत पर्सा जिल्लाको ठोरी गाउँपालिकामा सो तालिम आयोजना गरिएको हो । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको संयुक्त सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) को सहयोग तथा गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपालको संयुक्त आयोजनामा तीन दिनसम्म सञ्चालन तालिम सञ्चालन गरिएको थियो । तालिममा १२ पुरुष र २७ महिला गरी ३९ जना स्थानीयले सहभागिता जनाएका थिए ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले स्थानीय तहमा पर्यटनसम्बन्धी सीप अभिवृद्धिका कार्यक्रमले समुदायमै रोजगारी सिर्जना गर्न सहयोग पु¥याउने बताए । उनले भने, “ठोरी जस्ता सम्भावनायुक्त क्षेत्रहरूमा होमस्टे संस्कृति विस्तार गर्नु नेपालको ग्रामीण पर्यटन विकासको मेरुदण्ड बन्नेछ ।”

संविधान परिवर्तन र शासकीय स्वरुप फेर्ने अधिकार यो सरकारलाई छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संविधान संशोधन र शासकीय स्परुप फेर्ने अधिकार यो अन्तरिम सरकारलाई नभएको स्पष्ट पारेकी छन् । देशबासीका नाममा नाममा सम्बोधन गर्दै आउने चुनावपछिको संसदबाट संविधान संशोधन गर्न सुझाव दिइन् । ‘आन्दोलनका क्रममा जेनजी विद्यार्थी तथा युवा–युवतीहरुले अनाहकमा ज्यान गुमाउनु परेकोमा यो सरकार सम्वद्ध दोषीउपर सक्त कानुनी कारबाही गर्ने प्रतिबद्धता जाहेर गर्दछ,’ उनले भनिन् ।

‘विदेशबाट मतदान गर्ने व्यवस्था मिलाउन छलफलमा छौँ’
सरकारले विदेशमा रहेका नेपालीलाई आफू कार्यरत रहेकै देशबाट मतदान गर्ने व्यवस्था मिलाउने तयारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै सो जानकारी दिएकी हुन् ।
उनले भनिन्, ‘रोजगारीको सिलसिलमा बाहिर रहनु भएका नेपाली नागरिकलाई विदेशबाट मतदात गर्न पाउने सम्भावनाका बारेमा निर्वाचन आयोगसँग छलफल गरिरहेको छ ।’

उनले मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेभित्रै स्वतन्त्र, भयरहित वातावरणमा निर्वाचन गराउन सरकारले आवश्यक पर्ने जनशक्ति बजेट, सुरक्षा र कानुनी पक्षका विषयमा निर्वाचन आयोगसँग छलफल गरी निर्वाचनको प्रारम्भिक काम सुरु गरेको जानकारी दिइन् । ‘१८ वर्ष पुुगेका मतदतालाई निर्वाचमा सहभागी हुन पाउने गरी मतदाता नामावलीमा नाम दर्ता गराउन अध्यादेश जारी भइसकेको छ’ प्रधानमन्त्री कार्कीले भनिन् ।

गन्नीगाडमा एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुने

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकामा गन्नीगाड साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

डिलाशैनी –१ र २ मा रहेको गन्नीगाड खोलको पानी सदुपयोग गर्ने कञ्चन ऊर्जा प्रालिले उक्त आयोजना निर्माण गर्ने भएको हो । एक मेगावाट क्षमता उक्त आयोजनाको हालै शिलान्यास गरिएको छ । सो अवसरमा प्रवद्र्धक कम्पनी अध्यक्ष अनिश गौतम, स्थानीय जनप्रतिनिधि जनकुमार घरडी र इञ्जीनीयर डा कृष्णप्रसाद दुलालको उपस्थिति रहेको थियो ।

कञ्चन ऊर्जा प्रालि र नेपाल विद्युत् प्राधिकरणवी २०८० मंसिर १९ गते आयोजनाको विद्युत खरीदबिक्री सम्झौता भइसकेको अध्यक्ष गौतमले बताए ।

उनका अनुसार अबको एक वर्ष ६ महिनापछि विद्युत् उत्पादन गरिसक्ने लक्ष्यसहित दसैँपछि आयोजना निर्माण धमाधम गरिने छ ।

आयोजनाले उत्पादनको गरेको विद्युत बलाँच सवस्टेशनमार्फत राष्ट्रिय प्रणालीमा जोडिने कम्पनीका प्रतिनिधि दीपेन्द्रबहादुर रानाले बताए । आयोजनामा लगानी गर्न इच्छुक स्थानीय प्रभावित तथा जिल्लावासीका लागिसमेत लगानीको अवसर प्रदान गरिने जनाएको छ ।

आन्दोलनका दोषीउपर सख्त कारबाही गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दमन गर्ने उपर कडा कारबाही गर्ने प्रतिवद्धता जनाएकी छन् । आज (बिहीबार) राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएकी हुन् ।

‘आन्दोलनका क्रममा जेनजी विद्यार्थी तथा युवा–युवतीहरुले अनाहकमा ज्यान गुमाउनु परेकोमा यो सरकार सम्वद्ध दोषीउपर सक्त कानुनी कारबाही गर्ने प्रतिबद्धता जाहेर गर्दछ,’ उनले भनिन् ।

नेपाली सेनाद्वारा वीरगञ्जमा वृक्षरोपण

वीरगञ्ज पर्सा । नेपाली सेनाको श्रीजङ्ग गणले आज वीरगञ्ज महानगर–१३ वेल्वास्थित भेडाहा खोलाको तटमा वृक्षरोपण गरेको छ । श्रीजङ्ग गणको तालिम इलाका क्षेत्रको चार किलोमिटर नदी तटमा आजदेखि वृक्षरोपण थालनी गरिएको हो ।

श्रीजंग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले भेडाहा खोलाको नदी कटान हुने क्षेत्रलाई लक्षित गरेर बाँसको बिरुवा रोपिएको जानकारी दिए । “श्रीजङग गणको तालिम इलाकाको चार किलोमिटर नदी तटीय क्षेत्रमा १५ मिटरको अन्तरमा करिब ६ सय बाँसको बिरुवा रोप्ने अभियान थालनी गरेका छौँ,” उनले भने, “यो अभियान असोज महिनाभरि नै सञ्चालन गरिनेछ ।”

गणपति कार्कीले बाँसको बिरुवाले नदीको कटान र धार परिवर्तनलाई रोक्न मद्दत हुने भएकाले वृक्षरोपण अभियान अघि सारेको बताए । “एकातर्फ पर्यावरणको संरक्षण र सम्वद्र्धन गर्न मद्दत पुग्नेछ”, उनले भने, “यसले भूसंरक्षण र नदी कटान लगायतको समस्यालाई रोकथाम गर्ने अपेक्षा गरेका छौँ ।”

घटस्थापनापछि एक लाख ३८ हजार यात्रुले काठमाडौँ छाडे

काठमाडौँ । घटस्थापना पछिका तीन दिनमा एक लाख ३८ हजार दुई सय ९६ यात्रुले काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते(घटस्थापना)का दिन ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४ र असोज ८ गते ५७ हजार ५५९ यात्रुले काठमाडौँ छाडेका हुन् ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले देशका विभिन्न क्षेत्रबाट काठमाडौँ उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरु दसैँ मनाउन घर जान थालेको जानकारी दिए । उनका अनुसार उक्त तथ्याङ्क थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट उक्त यात्रुहरु गन्तव्यस्थलमा गएकाहरुको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले पानी परेका कारण राजमार्गमा पहिरो जाँदा सवारी साधनलाई आवतजावतमा समस्या परेको बताए। “मुग्लिङ–नारायणघाट सडकखण्डमा पहिरो जाँदा घण्टौँसम्म सवारी साधन बाटोमा रोकिएका छन्, जसका कारण समयमै काठमाडौँमा बस नआउँदा यात्रुलाई गन्तव्यस्थलसम्म पठाउन समस्या भएको छ,”, अध्यक्ष स्वारले भने ।

काठमाडौँ गोँगबुस्थित राष्ट्रिय बसपार्क नयाँ बसपार्कमासमेत दसैँमा घर जाने यात्रुको चाप बढ्न थालेको छ । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले नयाँ बसपार्कबाट दैनिक ५०० बस बाहिरिन थालेको बताए ।

उनले अरु समयमा दैनिक औसतमा दुई सय ५० बस बाहिरिए पनि अहिले उक्त सङ्ख्यामा वृद्धि भएको बताए । यात्रुको सहजताका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न सङ्घ संस्थाको सहकार्यमा काठमाडौँ उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

देउवा दम्पतीमाथि सरकारले बढायो निगरानी

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवाले नयाँ राहदानी बनाएको खुलेपछि सरकारले कडा निगरानी बढाएको छ । उनीहरूको पासपोर्टमा थाइल्यान्ड भिसा समेत लागेको खुलेको छ । देउवा र आरजुले यही असोज ३ गते, शुक्रबार नयाँ पासपोर्ट (राहदानी) निकालेको पाइएको छ ।

उनीहरूले नयाँ पासपोर्ट बनाएको सूचना सरकारले केही दिन अगाडि नै पाइसकेको एक उच्च स्रोतले जनायो । स्रोतका अनुसार उनीहरूको पासपोर्टमा थाइल्यान्डको भिसा पनि लागिसकेको छ । भदौ २४ मा बुढानीलकण्ठस्थित देउवा निवासमा तोडफोड र आगजनी हुँदा पुरानो पासपोर्ट हराएको अनुमान गरिएको थियो । सम्पत्ति शुद्धीकरण विभाग, सिआइबी र राहदानी विभागले पासपोर्ट रोक्का गर्नेबारे छलफल गरिरहेका छन् ।

देउवा दम्पती उपचारका लागि वा अरू कुनै कारण देखाएर विदेश जान सक्ने भन्दै सरकारले सुरक्षा संयन्त्रलाई सतर्क पनि गराएको थियो । राहदानी ऐनअनुसार भ्रष्टाचार वा सम्पत्ति शुद्धीकरण अनुसन्धानमा संलग्न व्यक्तिको राहदानी रोक्का गर्न सकिने व्यवस्था छ । यसअघि देउवा निवासमा बरामद रकमबारे विभागले मुचुल्का उठाइसकेको छ । पूर्व ऊर्जामन्त्री दीपक खड्काको घरबाट प्रदर्शनकारीले पैसा फाल्दै गरेको भिडिओ पनि सार्वजनिक भएको थियो । यसपछि विभागको टोली त्यहाँ पनि मुचुल्का उठाउन पुगेको थियो ।

दसैँमा पर्यटक भिसा खुला रहने

काठमाडौँ । अध्यागमन विभागले बडादसैँको बिदामा पनि पर्यटक भिसा शाखा खुला रहने जनाएको छ । विभागले विज्ञप्ति जारी गर्दै विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवाहरु खुला रहने जानकारी गराएको हो ।

असोज १६ गते विजयदशमीको दिन बाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पर्यटक भिसा सेवा उपलब्ध गराइने विभागले उल्लेख गरेको छ । नेपाल पर्यटन बोर्डले पनि पर्यटक आवागमनलाई सहज तुल्याउन आफ्नो सेवालाई निरन्तरता दिने भएको छ ।

बोर्डले विदेशी पर्यटकलाई सेवा उपलब्ध गराउन दसैँअवधिभर छुट्टै सेल गठन गरी निश्चित कर्मचारी खटाएर सेवा दिने जनाएको छ ।

भृकुटी मण्डप खुल्ला बजार चहलपहल छ, व्यापार छैन (तस्बिरहरु)

काठमाडौँ । दशैं लागि सकेको छ, बजारमा किनमेल गर्नेहरूको बाक्लो भीड पनि देखिएको छ तर यस वर्ष भने पहिलेको वर्ष जस्तो व्यापार नभएको व्यापारीहरु बताउँछन् ।

पहिलेको वर्ष भृकुटीमण्डपको खुल्ला बजार क्षेत्र भित्र टेकी नसने भीड हुने र व्यापार पनि राम्रो हुने गरेकोमा यस वर्ष ७५ प्रतिशतले नै व्यापार घटेको खुल्ला बजारमा व्यापार गर्दै आएको सर्मिस्था श्रेष्ठले बताइन् । यसवर्ष व्यापार नै छैन व्यापार भएको भए त बोल्ने फुर्सद पनि हुँदैन थियो उनले भनिन् ।

अर्को व्यापारी शारदा कोइरालाको पनि भनाइ त्यही छ, व्यापार आदिले भन्दा बढी घटेको छ, मान्छे आउँछन् तर किनमेल खासै छैन उनले भनिन् ।

देशमा भर्खरै भएको जेन जी आन्दोलनले पनि व्यापार असर परेको व्यापारी बताउँछन् ।

‘जनस्वास्थ्यमा फार्मासिस्टको योगदान प्रशंसनीय’

काठमाडौँ । आज आज विश्व फार्मासिस्ट दिवस मनाइँदैछ । यस वर्ष ‘स्वास्थ्य सोचौँ, फार्मासिस्ट सम्झौँ’ नाराका साथ मनाउन लागिएको यो दिवसको मुख्य उद्देश्य स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन र समुदायलाई सुरक्षित राख्न फार्मासिस्टहरूको महत्वपूर्ण भूमिकालाई सम्मान र उजागर गर्नु हो ।

यस अवसरमा नेपाल फार्मेसी सङ्घले देशभरका जिल्ला र प्रदेशस्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी फार्मासिस्टहरूलाई एकीकृत गर्ने, जनचेतना अभिवृद्धि गर्ने र समाजप्रति पेसागत प्रतिबद्धता दोहो¥याउने कामा गरिरहेको छ ।

फार्मेसी केवल औषधि वितरणमा सीमित नभइ जीवन रक्षा र स्वास्थ्य प्रवद्र्धनमा अग्रणी भूमिका निर्वाह गर्ने पेसा रहेको सङ्घका अध्यक्ष युवराज भुसालले बताए । उनले सुरक्षित, प्रभावकारी र जिम्मेवार औषधि प्रयोग सुनिश्चित गर्न उनीहरूको योगदान रहने बताए ।

भुसालले भने, “फार्मासिस्ट जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने व्यक्ति हुन् । औषधि दिने मात्र होइन त्यो औषधिको पूर्ण जानकारीसहित फार्मासिस्टले औषधि दिने काम गर्छन् । समुदायमा उनीहरुको ठूलो भूमिका छ । औषधिको वैज्ञानिक प्रयोग, जनस्वास्थ्यमा सचेतना, अनुसन्धान र सेवाप्रति समर्पणमार्फत समाजमा फार्मासिस्टहरूले निर्वाह गर्दै आएको योगदान प्रशंसनीय छ ।”

यस अवसरमा आज देशव्यापी रूपमा ¥याली, रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, अन्तरक्रियात्मक छलफल, सरोकारवालासँग प्राविधिक सत्र, विशेष तालिम सञ्चालन भइरहेका छन् ।

बसाइँसराईले बाँझिदै खेतीयोग्य जमिन

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–९ गौचौरमा पाँच घर परिवार बसोबास गर्थे । अहिले गाउँ खाली भएको छ । सन्धिखर्क–९ कै घर्तीखोर, दीप, ओढारपानी, बढाचौर, कुँडापानीलगायतका गाउँमा वर्षेनी बसाइँ सर्नेहरुको सङ्ख्या बढ्दा घर खाली हुँदै गएका छन् । अर्घा रजस्थल माविका शिक्षक छविलाल चुँदालीका अनुसार गाउँबाट बसाइँसराई गरेर जाने बढेपछि विद्यार्थीको सङ्ख्या घटेको छ । साढे पाँच सय विद्यार्थी हुने अर्घा रजस्थल माविमा अहिले दुई सय विद्यार्थी छन् ।

पहिले गाउँमा मोटरबाटो थिएन । गाउँलेहरु बुटवल र पत्थरकोट पुगेर ढाकरमा नुन तेल बोकेर ल्याउँथे । घरघरमा धारा थिएन, पँधेराको पानी पिउँथे, घाँस–दाउरा गर्थे । अहिले समय बदलिएको छ । गाउँमा पक्की बाटो पुगेको छ । खानेपानीको सुविधा छ । बिजुली पुगेसँगै इन्टरनेटको सुविधा छ । गाउँमै आधारभूत स्वास्थ्य सेवाको पहुँच छ । बिरामी भए अस्पताल जान गाउँगाउँमा एम्बुलेन्स पुग्न सक्छन् । लामो समयसम्म विकास पुग्न नसकेका गाउँ अहिले आधुनिक सुविधाको पहुँचले शहरको सुविधाको झल्को पाइन्छ ।

शितगङ्गा नगरपालिका–११ छापमा केही वर्ष अघिसम्म ४५ घर परिवार बसोबास गर्थे । अहिले सबै घर बसाइँ सरेर अन्यत्र गएपछि गाउँ खाली भएको छ । त्यसैगरी ५० घर रहेको दुम्सी गाउँ पनि अहिले रित्तिएको छ । बसाइँ सरेर सिंगो गाउँ हिडेपछि खेतबारी बाँझिएका छन् । शितगङ्गा नगरपालिका–१० सिद्धाराका अगुवा माधवप्रसाद पौडेल गाउँ नै रित्तो बनाएर उनीहरु कपिलवस्तुको लुङ्ग्री, मौवावारी, खयरभट्टी, ढोडेनीमा बसाइँ सरेर गएको बताँउछन् । सिद्धाराकै झाते, पात्ले, उनाए गाउँबाट बसाइँ सर्ने बढ्दै गएपछि गाउँहरु खाली हुँदै गएका छन् ।

बसाइँसराईको विकराल अवस्था

अर्घाखाँचीका छ वटै पालिकाबाट तराई झरिरहेका छन् । बसाइँसराई तीव्र भएपछि खेतीयोग्य जमिन बाँझिदै छन् । तीव्र बसाइँसराईले अर्घाखाँचीमा खेतीयोग्य जमिन बाँझिदै गएको छ । एक दशकमा सात हजार ३६२ हेक्टर जमिन बाँझिएको छ । खेतीयोग्य जमिन बाँझिदै जाँदा आगामी दिनमा खाद्य सङ्कट निम्तिन थालेको छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार ३० वर्षअघि ४५ हजार ७१२ हेक्टर क्षेत्रफलमा खेती हुन्थ्यो । २०७० मा खेतीयोग्य जमिन घटेर २८ हजार ६०९ हेक्टरमा खुम्चिएको थियो ।

कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेका अनुसार अहिले २१ हजार २४७ हेक्टर क्षेत्रफलमा खेती हुन्छ । दशकमै सात हजार ३६२ हेक्टर खेतीयोग्य जमिन बाँझो भएको छ । सन्धिखर्क–९ गौचौरका पोमनारायण पौडेल भन्छन्, “गाउँमा मानिसको सङ्ख्या कम भएसँगै जङ्गली जनावरबाट खेतीपाती जोगाउन सकस भयो । गाउँबाट धमाधम बसाइँ सरेपछि एक्लिदै बस्न अप्ठारो भयो । सकेसम्म गाउँमै बस्नुपर्छ भनेको म पनि अहिले बुटवल आएर बसेको छु ।” ‘पहिले टारी तथा बगरमा खेत बनाएर धान र गहुँ खेती गरिने गरेको बताउँदै उनी भन्छन्, “खेतबारी बाँझै राख्नुहुन्न भनेर सम्भव भएसम्म खेती लगाइन्थ्यो । अहिले नयाँ खेत र बारी बनाउने क्रम रोकिएको छ । बरु खेती हुँदै आएका खेत र बारी बाँझिएका छन् । खेतबारीमा अहिले खर र बनमाराले ढाकेको छ ।”

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको व्यक्तिगत घटना दर्ताको तथ्याङ्कअनुसार जिल्लाको बसाइँसराई दर विकराल छ । अर्घाखाँचीबाट पाँच वर्षयता पाँच हजार ८२ घरपरिवारले बसाइँ सरेका छन् । अर्थात एक घरमा पाँच जनाको हिसावले औसत निकाल्दा पनि झण्डै २५ हजार मानिसले जिल्ला छाडेका छन् । पालिकागत बसाइँसराइको अवस्था हेर्दा शितगङ्गा नगरपालिकामा एक हजार ६४४, सन्धिखर्क नगरपालिकामा ७१७, भूमिकास्थान नगरपालिकामा ६७३, पाणिनी गाउँपालिकामा ८०१, छत्रदेव गाउँपालिकामा ७१२ र मालारानी गाउँपालिकामा ५३५ घरपरिवार बसाइँसराई गरेर अन्यत्र गएका छन् ।

विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार अर्घाखाँचीको कुल जनसङ्ख्या एक लाख ९७ हजार ६३२ थियो । २०७८ को राष्ट्रिय जनगणनाअनुसार यहाँको जनसङ्ख्या एक लाख ७७ हजार ८६ रहेको छ । दश वर्षको जनसङ्ख्या हेर्दा २० हजार ५०० घटेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा धान, मकै, गहुँ, कोदो, फापरलगायतका खाद्यान्न ८६ हजार ४३८ मेट्रिकटन उत्पादन भएकामा उपभोगका लागि प्रशोधित खाद्यान्न ६५ हजार ५४१ मेट्रिक टन थियो । २०७९ सालको प्रक्षेपित जनसङ्ख्या एक लाख ७९ हजार ४७७ रहेको थियो । औसतमा जिल्लामा एक व्यक्तिका लागि प्रतिवर्ष २०१ केजी खाद्यान्न आवश्यक पर्छ । जिल्लामा उत्पादन भएको खाद्यान्नलाई औसतमा प्रतिव्यक्ति ३६५ केजी पुग्ने तथ्याङ्क रहेको कृषि ज्ञान केन्द्रका प्रमुख घिमिरेको भनाई छ ।

खाद्य सुरक्षाको हिसावले अर्घाखाँची जिल्ला पूर्णसुरक्षित देखिन्छ तर मकैको प्रयोग पशु चौपायालाई धेरै हुन्छ । पशुपंक्षीको दानाका लागि मकै खपत हुन्छ भने तराईबाट चामल झिकाउने क्रम बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा सात हजार ४२५ हेक्टर क्षेत्रफलमा धान खेती हँुदै आएकोमा अहिले त्यो क्षेत्रफल घटेर छ हजार ३५४ हेक्टरमा झरेको छ । धान खेती गरिएको जमिनको क्षेत्रफल घटे पनि धानको उत्पादनमा भने कमी नआएको कृषि ज्ञान केन्द्रका अधिकृत टिकाराम न्यौपाने बताँउछन् । आव २०७५/७६ मा २४ हजार १३१ मेट्रिकटन धान उत्पादन भएकामा गत आव २०८०/८१ मा २५ हजार ८८७ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क रहेको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख घिमिरेका अनुसार तीव्र बसाइँसराई र बाँझिदै गएको खेतीयोग्य जमिनले खाद्य सङ्कटको जोखिम बढेको छ । अहिले खेती गर्ने नयाँ प्रविधि, उन्नत जातको बिउ र रासायनिक मलको प्रयोगले उत्पादन बढ्दा उत्पादनमा कमी नआए पनि खेतीयोग्य जमिन बाँझिदै गएकाले खाद्य सङ्कट निम्तिने उनको भनाई छ ।

पालिकाको सकारात्मक पहल

स्थानीय, प्रदेश र सङ्घीयका निर्वाचनहरुमा राजनीतिक दलले जिल्लाको बसाइँसराई रोक्न विशेष योजना सञ्चालन गर्ने तथा युवालाई गाउँमै स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गर्ने आश्वासन दिए पनि कार्यान्वयन हुन नसक्दा बसाइँसराई मुख्य चुनौतीको रूपमा रहेको छ । त्यसो त कतिपय पालिकाले युवालाई गाउँमै आकर्षित गर्ने कार्यक्रम ल्याएका छन् । कृषकले उत्पादन गरेका अर्गानिक कृषिजन्य वस्तुको बजारीकरण तथा गुणस्तरीय मल र बिउका लागि समस्या हुन नदिन सन्धिखर्क नगरपालिकाले जनता एग्रो एण्ड फरेष्टी लिमिटेड काठमाडौसँग सहकार्य गरेर काम गरेको छ ।

सन्धिखर्क नगरपालिका र पाणिनी गाउँपालिले उत्पादित अर्गानिक कृषिजन्य बस्तुको समर्थन मूल्यमा बजारीकरण तथा सुनिश्चितका लागि जनता एग्रो एण्ड फरेष्टी लिमिटेड काठमाडौसँग सम्झौतासमेत गरेका छन् । विदेशमा रोजगारी गरेर फर्किएर व्यावसायिक बाख्रापालन सुरु गरेका मालारानी–६ गौराडाडाँका कृषक प्रेमबहादुर घर्तीमगरले गउँपालिकाले हेफरको साझेदारीमा बाख्रापालनमा विभिन्न किसिमको सहयोग गरेकाले सहज भएको बताँउछन् ।

मालारानी गाउँपालिका र हेफर परियोजना नेपालको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामीण तथा सामुदायिक स्वास्थ्य विकास केन्द्रको सहजीकरणमा मालारानी गाउँपालिकामा सञ्चालन भएको मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजना मालारानीका नौ वटै वडामा सञ्चालन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताए । पूर्वसांसद पुष्पा भुसाल विकासको प्रतिफल नागरिकको अपेक्षा अनुसार नहुँदा बसाइँसराई रोकिन नसकेको बताँउछन् । विकाससँगै रोजगारी र उद्यमशीलता बढाउन सक्दा बसाइँसराई रोक्न सकिने उनको भनाई छ ।

सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ पनि भुसालको भनाईसँग सहमत छन् । शिक्षा, स्वास्थ्य र रोजगारीका लागि बसाइँसराई भएकाले उद्यमशीलता बढाउने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनको भनाई छ । सुपा देउराली, अर्घाभगवती, पाणिनी तपोभूमि, खाँचीकोट भगवती, छत्र महाराज, मालारानी, नर्सिंह स्थान, सिद्धेश्वर शिवालयलगायतका ठाउँमा पर्यटनको सम्भावनासम्बन्धी एकिकृत योजना ल्याउनसके बसाइँसराई रोकिने देखिन्छ ।

– प्रेमनारायण आचार्य

जनार्दनको प्रस्ताव : महाधिवेशनपछि पनि नफर्किने गरी सबै पदाधिकारीले राजीनामा दिऔं

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी विघटित अवस्थामा पुगिसकेको टिप्पणी गरेका छन् । केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै लाखौँ पार्टी सदस्य र नेतृत्व भएको पार्टी हेडक्वार्टर जलिरहँदा पनि प्रतिवाद गर्न नसक्ने ठाउँमा पुगेको बताएका छन् ।

उनले भने, ‘हाम्रो पार्टी यतिबेला विघटित अवस्थामा छ । पार्टी केन्द्रीय कार्यालय आगजनीमा परेको छ । आन्दोलनले निम्त्याउने सम्भावित खतराबारे पूर्व आंकलन गर्न नसक्नु, लाखौँ पार्टी सदस्य र नेतृत्वको यति ठुलो फर्मेसन हुँदाहुँदै हाम्रो पार्टी हेडक्वार्टर जलिरहँदा हामी कोही पनि प्रतिवाद गर्न नसक्ने ठाउँमा पुग्नु, आफैलाई बचाउने हैसियत नहुनुले आधारभूत वर्ग हामीसँग रिसाएको वास्तविकतालाई उजागर गरेको छ ।’

आन्दोलन सबैतिर विस्तार भइरहेको बेलामा के गर्ने भनेर अन्यौलता रहेका नेता–कार्यकर्ताहरूलाई मार्गदर्शन गर्न सकेनौँ राज्यविहीनताको अवस्थासँगै पार्टीविहीनताको अवस्था रहेकाले पार्टी विघटनको तथ्यलाई स्पष्ट गर्ने उनले बताएका छन् ।

प्रस्तावमा भनिएको छ, ‘यो परिस्थितिबाट पार्टीलाई फेरि नयाँ ढङ्गले गठन गरी हाम्रा अभिभारा र जनताका सपनाहरूलाई पूरा गर्ने जनयुद्धमा भएका त्याग र बलिदानहरूको स्मरण गर्दै सम्पूर्ण कमजोरीहरूलाई धोइ पखाली गर्ने गरी हाम्रो सोच दृष्टिकोण र भूमिकालाई आजको जनभावना आन्दोलनको माग र हाम्रा विगतका कमीहरू नदोहोरिने गरी पार्टीलाई नयाँ निर्माण गर्न जरुरी छ ।’

नेतृत्व हस्तान्तरणबारे विगतमा नै माग गरेको भए पनि जेनजी आन्दोलनले ती कुरा सही साबित गरेको बताएका छन् । प्रस्तावमा भनिएको छ, ‘अब यथास्थितिमा पार्टी अगाडि बढ्न नैतिक मनोवैज्ञानिक विधिगत र राजनीतिक अवस्थाका दृष्टिले पनि नसक्ने अवस्थालाई आत्मसात् गर्नु पर्दछ । पार्टी पुनर्गठनको प्रक्रियालाई अगाडि बढाउन यस बैठकबाट अध्यक्ष कमरेड लगायत हामी सबै पदाधिकारीहरूले आफ्नो पदबाट राजीनामा गर्नुपर्दछ महाधिवेशनसम्म पार्टीलाई संयोजन गर्ने गरी पदाधिकारीबाट नभए स्थायी समितिबाट कार्यभार दिन डराउनु हुँदैन ।’

प्रचण्डले हिजो खेलेको भूमिकासहित टिमको भूमिका समेतको सम्मान र वर्तमानको आवश्यकता माग पूरा गर्दै समस्याको समाधानको बाटो खोल्ने उनको भनाइ छ। प्रस्तावमा भनिएको छ, ‘हाम्रो पार्टीको महाधिवेशन घोषणा गर्दा अध्यक्ष कमरेड प्रचण्डसहित दशकौँदेखि एउटै पदमा रहेका हामी सबै पदाधिकारी सामूहिक राजीनामा दिऔँ र आगामी महाधिवेशनमा निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय यसै बैठकबाट गरौं ।’

हेर्नुस् जनार्दनको प्रस्ताव

 

आन्दोलनका कारण जिडिपीको पाँच प्रतिशतमा क्षति: सिएनआई अध्यक्ष पाण्डे

काठमाडौँ  ।  नेपाल उद्योग परिसङ्घ(सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण कुल गार्हस्थ उत्पादन (जिडिपी)को करिब पाँच प्रतिशत क्षति पुगेको बताएका छन् ।
आज नेपाल आर्थिक पत्रकार समाज(सेजन)को नयाँ कार्यसमितिलाई स्वागत गर्ने क्रममा उनले कुनै पनि आन्दोलनमा निजी क्षेत्रमाथिको आक्रमण हुनु दुःखद् भएको समेत उल्लेख गरे । “पछिल्लो आन्दोलनमा निजी क्षेत्रमा ठूलो क्षति भएको छ, मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको उल्लेख्य योगदान रहँदा पनि यसमाथि निरन्तरको आक्रमण रोक्न सकिएको छैन”, उनले भने, “आन्दोलनका क्रममा जिडिपीको पाँच प्रतिशतमा क्षति पुगेको प्रारम्भिक आकलन छ ।”
अध्यक्ष पाण्डेले नागरिक समाज, राजनीतिकर्मी र सर्वसाधरणमा निजी क्षेत्रले पु¥याएको योगदानबारे अझै पनि बुझाउन नसकिएको बताए। “जबसम्म आम मानिसमा निजी क्षेत्रप्रतिको धारणा परिवर्तन गर्न सकिन्न, तबसम्म समस्या रहिरहन्छ, उद्यमशीलता बढाउने, त्यसतर्फ युवालाई केन्द्रित गर्ने विषयमा हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ”, उनले भने।
उनले आन्दोलनका कारण लगानीकर्तामा संशय उत्पन्न भएको उल्लेख गर्दै अब लगानीमैत्री वातावरण बनाउन सरकारको ध्यान जानुपर्नेमा समेत जोड दिए ।
त्यस अवसरमा सिएनआईका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले मूल्य अभिवृद्धि कर (भ्याट)लाई बहुदरमा लैजान आवश्यक रहेको धारणा राखे । “हामीले अध्ययन गरेर सरकारलाई भ्याटमा बहुदर कायम गर्न सुझाव दिएका थियौँ, पाँच, आठ र १३ प्रतिशत गरी भ्याटलाई बहुदरमा लैजान सकिन्छ भन्ने हाम्रो सुझाव थियो”, उनले भने ।
सिएनआई कोशी प्रदेशका अध्यक्ष पवनकुमार शारडाले सरकारले नीति बनाउँदा सबै क्षेत्रलाई समेट्न जरुरी रहेको बताए ।
“हामी विराटनगरमा रहेर काम गरिरहेका छौँ, त्यहाँका समस्या हामीलाई बढी थाहा हुन्छ, त्यहाँका व्यापारीले भारतीय बजारसँग प्रतिष्पर्धा गर्नुपरिरहेको छ”, उनले भने, “सरकारले नीति निर्माण गर्दा हाम्रो अवस्थालाई पनि ध्यान दिन जरुरी छ ।” उनले गत भदौमा भएको जेनजी आन्दोलनले मुलुकलाई सुशासनको बाटोमा लैजानका लागि नयाँ अवसर सृजना गरेको समेत उल्लेख गरका  छन् ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, लगतै राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो । मन्त्रिपरिषद् बैठकका एजेण्डाबारे जानकारी गराइएको छैन । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद् दोस्रो पटक विस्तार भएपछि बसेको यो पहिलो बैठक हो । बैठकमा विकसित घटना क्रमको समीक्षा गर्दै केही महत्वपूर्ण निर्णय गर्नसक्ने जनाइएको छ ।

यो बैठक लगत्तै प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन् । साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको छ । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् ।

धानबालीमा मरुवा रोगको समस्या

चितवन । जिल्लामा लगाइएको धान खेतीमा मरुवा रोगको समस्या देखिएको छ । कृषि विकास कार्यालयका अनुसार अहिले अधिकांश धान खेतीमा यो रोगको समस्या देखिएको हो ।

कार्यालयका बालीविकास अधिकृत गीता केसीका अनुसार दैनिक ७ देखि १० जना यो रोगको समस्या लिएर आउने गरेका छन् । ढुसीका कारण लाग्ने यो रोग लाग्ने गर्दछ । अहिलेको समयमा देखिएको मरुवा रोग नियन्त्रणका लागि पानी जमाई राख्नु पर्ने उहाँले सुझाब दिए। यो रोग लाग्दा पातमा स–साना सेता टीकाबीचमा भएको लाम्चिला खैरा थोपा देखिने उनले जानकारी दिए ।

उनका अनुसार बालादेखि तलको डाँठको वरिपरी वा आँख्लामा खैरो रङ भएको दाग पनि देखिने गर्दछ । यो रोग देखिएमा नजिकको कृषि विकास कार्यालयमा सम्पर्क गर्न उनले सुझाब दिए । खेतमा पानी जमाई राख्न पनि उनको सुझाब छ । ढुसि सहन सक्ने जातका धान लगाउनु पर्ने उनले जानकारी दिए ।

जिल्लामा यस वर्ष २७ हजार २०७ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । रोग, किरा र बुढो बिउ रोप्नुपर्ने बाध्यताका कारण गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा कमी आउने अनुमान गरिएको उनले बताए।

राजस्व सचिव घिमिरे वित्त आयोगमा सरुवा, अर्थमा एक मात्रै सचिव

काठमाडौं । अर्थ मन्त्रालयमा अबदेखि राजस्व सचिव नरहने भएका छन् । अन्तरिम सरकारले अर्थ मन्त्रालयमा एक जना मात्रै सचिव राख्ने भएको हो । यसअनुसार हालका राजस्व सचिव दिनेश घिमिरेलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ । हाल अर्थ सचिव घनश्याम उपाध्याय रहेका छन् ।

मंगलवार मन्त्रिपरिषद्ले गृह सचिवमा रामेश्वर दंगाललाई लगिएको थियो भने गृहमा रहेको गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको थियो । आयोगमा त्यसअघि काम गरिरहेको सुमन अर्याललाई रक्षा सचिवमा सरुवा गरिएको थियो । त्यसअघि रामेश्वर दंगालले रक्षा सचिवको भूमिका निर्वाह गरिरहेका थिए ।

 

झोलुङ्गे पुललाई सजावट : आन्तरिक पर्यटकको नयाँ आकर्षण

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडी गाउँ नजिकैको अनौखी खोला, बीचमा कलकल बगेको पानी र माथि झुलिरहेको झोलुङ्गे पुल । रङ्गीबिरङ्गी झण्डासँग सजिएको यो पुल अहिले गाउँको नयाँ आकर्षण बनेको छ ।

कृष्णपुर–१ का कबिन्द्रसिंह धामीले आफ्नै खँर्चबाट २० हजार रुपैयाँ खर्च गरेर पुल सजाएका छन । पहिले साधारण देखिने पुल अहिले फोटोग्राफी प्रेमी र आन्तरिक पर्यटकका लागि आकर्षकस्थल बनेको छ । केही समयअघिसम्म धामी कैलालीको गोदावरी पुलमा फोटोग्राफी गरेर जीविकोपार्जन गर्दै आएको थिए । “काम रमाइलो भए पनि, कमाइ प्रायःबस–भाडा र खानपिनमै सकिन्थ्यो उनले भने, “किन आफ्नै गाउँमा केही नयाँ गर्न सकिँदैन भनेर सोचे, गाउँ नजिकैको अलपत्र रहेको पुललाई सजाउने निधो गरे सजाए, अहिले यो नगरपालिका क्षेत्रका बासिन्दाको आकर्षणको केन्द्र बनेको छ ।”

पर्यटक आउदा गाउँको सुन्दरता अनुभव गर्न सकुन भने उद्देश्यले पुल सजावटमा लगानी गरेको उनले बताए । “प्राकृतिक दृश्यसँगै सजावट मिसिँदा अझै सुन्दर फोटो आउँछ,” उनी भन्छन्, “त्यै भएर पर्यटकले यस क्षेत्रलाई गन्तव्य बनाएका छन ।”

धामी यतिमै रोकिएका छैनन् । उनको अर्को योजना नजिकैको पक्की पुललाई पनि झण्डा र रङ्गीन सजावटले आकर्षक बनाउने रहेको छ ।

पुलमा सजावट गरिएपछि दैनिक सयौँ मानिस घुम्न आउन थालेका छन् । फोटो खिँच्नेको भीडले गाउँमा नयाँ उत्साह ल्याएको स्थानिय रामबहादुर साउदले बताए ।

“अलपत्र अबस्थामा रहेको पुल पर्यटकको गन्तव्य बनेको नै छ” उनले भने, “गाउँका बासिन्दाको आय आर्जनमा बृद्धि हुन थालेको छ, गाउँमा उत्पादन भएका फलफुल, खाद्य सामग्री बिक्री हुन थालेका छन ।”

पुलमै मोवाइल फोनको क्यामेरामा सेल्फी लिदै गरेका भेटिएका टेकबहादुर साउद भन्छन्, “पहिले हाम्रो गाउँ सामान्य मात्र थियो, तर अब पुलले नयाँ पहिचान दिएको छ, यो केवल फोटो खिच्ने ठाउँ मात्र रहेन, हाम्रो गाउँको पर्यटन विकासको आधार बन्न थालेको छ ।”

उनी अगाडी थप्दै भन्छन्, “पहिले यहाँ कोही आउँदैनथ्यो, अब त फोटो खिच्न मात्र नभई रमाउन आउनेको पनि भीड लाग्छ ।” तीनतर्फ नदीले र अर्कोतर्फ घना वन क्षेत्रले जोडिएको बेलडाँडी गाउँ जोडनका लागि दशकअघि झोलुङ्गे पुल निर्माण गरिएको थियो । निर्माण भएको वर्ष दिन नपुग्दै त्यस नजिकै पक्कि मोटेरेवल पुल बनेपछि झोलुङ्गे पुलमा आवतजावत बन्द भएको थियो ।

त्यस पुललाई नगरपालिको अन्यत्र लगेर जडान गर्न चासो नदेखाएपछि अलपत्र अबस्थामै थियो । छिमेकी गाउँका युवाले पुल सजावट गरिदिएपछि यसले चर्चा पाएको साउदको भनाइ रहेको छ ।

दसैँ सुरुभएसँगै गाउँ वस्तिमा चहलपहल बाक्लियो

सिमकोट(हुम्ला) । रोजगारीका शिलशिलामा अन्यत्र रहेका हुम्लाबासी धमाधम गाउँ फर्किन थालेका छन् । दसैँ सुरु भएसँगै यहाँका गाउँघरमा नागरिकको चहपहल बाक्लिएको छ ।

दसैँ, तिहार मनाउनका लागि हवाई र पैदल यात्राबाट हुम्ली दैनिक भित्रिन थालेपछि बर्खाका समयमा खाली हुँदै गएका गाउँबस्ती यती बेला भने भरिन थालेका छन् । रोजगारीको शिलशिलामा जिल्ला बाहिर रहेका मात्रै नभएर अध्ययनका लागि काठमाडौँ, पोखरा, सुर्खेत, नेपालगञ्जलगायतका शहरमा रहेका विद्यार्थीसमेत दसैँ मनाउन घर आएका कारण यतिबेला विभिन्न वस्तिमा चहलपहल बढेको छ ।

यस वर्ष जिल्लामा सडक पुगेपछि दसैँमा घर आउनेको सङ्ख्या पहिलेभन्दा झन् बढ्न थालेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब निरीक्षक शंकर पोखरेलले बताए । कुबाडी प्रहरी चौकीलाई उद्धिर्त गर्दै यस वर्षको विगतको दसैँभन्दा हुम्ला आउने सवारीसाधनको सङ्ख्यामा वृद्धि भएको उनले बताए । गत वर्षमा केही मात्रामा मात्रै आउने गरेको भएपनि अहिले सडक आएपछि दसैँको फूलपातिअगाडि नै गाउँभरिभराउ हुन थालेका छन् ।

शहर खाली हुँदै गएपछि गाउँघर रमाइलो देखिनुका साथै भरिभराउन हुँदै आएका छन् । यतिबेला गाउँघरमा सबैको जमघट हुनु साथै दसैँ, तिहार जस्ताले पारिवारिक एक किसिमको सौहार्द वातावरण सिर्जना गरेको राजबहादुर भण्डारीले बताए। उतिबेला जिल्लाको सदरमुकाम सिमकोटसमेतमा मानिसको चहलपहलसमेत विस्तारै घट्दै गएको छ । काम, अध्ययन र रोजगारीलगायतका शिलशिलामा सिमकोट बसेका नागरीक दसैँ मनाउन गाउँ जान थालेपछि सदरमुकाममा मानिसको चहलपहल घट्दै जान थालेको हो ।

गाउँमा रहेको व्यरोजगारीले प्रदेसिन बाध्य हुने गरेको भए पनि दसैँ तिहारलगायतका चाँडपर्वमा आफू सधैँ घर फर्किने गरेको अदानचुली गाउँपालिकाका स्थानीय चामुण्डा रोकायाले सुनाए । गाउँमा रोजगारीको अवसर नमिल्दा हुम्लाका अधिकांश बेरोजगार युवा बर्खाको खेतीपाती सकाएर दसैँ खर्चको जोहो गर्न माथिल्लो हुम्लाको सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिकाका युवा चीनको ताक्लाकोटमा जाने गर्दछन् भने तल्लो हुम्लाको सर्केगाड, ताँजकोट, अदानचुली, चङ्खेली गाउँपालिकाका प्रायःजसो युवा भारतमा जाने गर्छन् । कात्तिक–मङ्सिरमा उवा, गहुँ, जौँ र असारमा कोदो, चिनो, आलु, मकै, धान कोदो खेती लगाउने समयमा गाउँ आउने र त्यसपछि फेरि कामको खोजीमा छिमेकी देशमा कामको खोजीमा जाने गर्छन् ।

जिल्लाका नागरीक कामको खोजीमा अन्यत्र जानु पर्ने बाध्यता जस्तै बनेको छ । यहाँका स्थानीयको यो बाध्यता अहिले नभई पहिलेका पुस्तादेखि नै चलिआएको सिमकोट गाउँपालिका–१ का प्रेम भण्डारीले बताए । गाउँमै रोजगारी नहुँनुका साथै कृषिप्रति युवाको आकर्षण घटेका कारण बढी जसो युवा ताक्लाकोट पुग्ने गर्दछन् ।

नारायणकाजीको प्रस्ताव : प्रचण्डलाई अध्यक्षबाट बिदा दिउँ, सम्मान कायमै राखौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टी अध्यक्षबाट बिदा गर्नुपर्ने प्रस्ताव गरेका छन् । काठमाडौंमा आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पुरक प्रस्ताव राख्दै श्रेष्ठले प्रचण्डलाई कार्यकारी नेतृत्वको जिम्मेवारीबाट बिदाइ गर्दै सम्मान कायम राख्नु पर्ने प्रस्ताव गरेका हुन् ।

‘के कुरामा पनि स्पष्ट हुन आवश्यक छ भने हाम्रो पार्टीको आजको यथार्थको ठोस सन्दर्भमा अध्यक्ष कमरेड स्वयमको वास्तविक सहमतिमा मात्रै यो प्रक्रिया व्यवहारतः कार्यान्वयन हुन सक्ने छ । यस सन्दर्भमा अर्को एक पक्षका बारेमा पनि स्पष्टताका आवश्यकता छ,’ उनले भने, ‘अध्यक्ष कमरेडको कार्यकारी नेतृत्वको जिम्मेवारीबाट बिदाइ उहाँप्रतिको सम्मानलाई कायम राख्दै र उहाँको निरन्तरताको वैचारिक, निर्देशनात्मक र अभिभावकीय भूमिकालाई स्थापित गर्ने गरिनु पर्दछ । नेपालको आजको ऐतिहासिक राजनीतिक परिवर्तनको निम्ति जसरी जनयुद्धको मुख्य भूमिका रहेको यथार्थलाई सबैले स्वीकार गर्नुपर्ने हुन्छ ।’

नेता श्रेष्ठले पार्टी पुनर्गठनको स्पष्ट सन्देश दिने कामको सुरुवात अहिले नै गर्नुपर्ने पनि बताएका छन् । ‘पार्टी महाधिवेशन यसरी उपयुक्त समयमा गर्ने तयारी अनुरूप अगाडि बढ्दै गर्दा पार्टी पुनर्गठनको स्पष्ट सन्देश दिने कार्यको थालनी भने अहिले नै गरिनुपर्छ,’ उनले भने, ‘अहिले जेनजी विद्रोहात्मक आन्दोलनले दिएको सन्देश, पारेको प्रभाव र निर्वाचनमा गर्नुपर्ने अपिलको सन्दर्भमा अध्यक्ष कमरेडले अध्यक्ष पदको कार्यकारी नेतृत्वबाट बिदा लिनु उपयुक्त हुन्छ ।महाधिवेशनबाट त्यस प्रकारको निर्णय लिने हो भने पनि अहिले संस्थागत प्रणालीअन्तर्गत दोस्रो प्रकृतिले नेतालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर त्यो प्रक्रियाको स्पष्ट सन्देश दिनु राम्रो हुन्छ ।’

‘प्रतिक्रियावादी कोणबाट गरिने आक्रमणबाट प्रतिरक्षा गर्नु पर्दछ । तर हाम्रो खुला समाज एवं बहुदलीय प्रतिस्पर्धा प्रणालीको परिप्रेक्ष्यमा तीन दशक एउटै व्यक्ति प्रमुख नेतृत्वमा रहिरहेको विषय नकारात्मक चर्चाको विषय बनिरहेको सन्दर्भ र अहिलेको जेनजी आन्दोलन पछि प्रमुख पार्टीहरूको प्रमुख नेताहरूको सन्दर्भमा जनमानसमा परेको वा पारिएको परसेप्सनको परिप्रेक्ष्यमा जनतामा अपिल सहित पार्टी निर्माणको प्रक्रिया अगाडि बढ्न आजको सन्दर्भमा त्यसरी नयाँ ढंगले अगाडि बढ्नु पनि त्यतिकै आवश्यक छ’ उनले भनेका छन् ।

 

 

मन्त्री महावीर पुनले कार्यकक्षबाट हटाए ‘माननीय’ शब्द

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले आफ्नो कार्यकक्ष बाहिर टाँसिएको बोर्डबाट ‘माननीय’ शब्द हटाएका छन् । सोही बोर्डमा मन्त्रालयका कर्मचारीले डा. पुनको नाम अगाडि ‘माननीय’ लेखेका थिए । तर, मन्त्री पुनले त्यो बोर्ड देखेपछि ‘माननीय’ शब्द हटाएर नाम मात्र लेख्न निर्देशन दिएका हुन् । उनले दिएको निर्देशनपछि कर्मचारीले नयाँ प्रिन्ट निकालेर सिर्फ नाम मात्र उल्लेख गरिएको बोर्ड टाँसेका छन् ।

यसअघि पनि मन्त्री पदको शपथ लिएर पदभार ग्रहण गर्दा महावीर पुनले आफूलाई ‘माननीय मन्त्री’ नभन्न आग्रह गरेका थिए । उनको भनाइमा, मन्त्रालयभित्र कर्मचारीले ‘मन्त्री’ भनेर सम्बोधन गर्न सक्ने भए पनि बाहिरका मानिसले सामान्य रूपमा मात्रै सम्बोधन गर्नु उपयुक्त हुने बताइएको छ ।

नवरात्रको चौथो दिनः देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ । आश्विन शुक्ल चतुर्दशी दिन आज बिहानैदेखि देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा पूजा, आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ ।

नवरात्रका अवसरमा शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । नवरात्र शक्ति प्राप्तिका लागि साधना गर्न उत्तम समयका रुपमा लिइन्छ । यसैले देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा पूजा, आराधना एवं शक्ति साधनाका लागि भक्तजनको घुइँचो बढेको हो ।

राजधानीका पशुपति क्षेत्रस्थित गुह्येश्वरी, भुवनेश्वरी, वत्सलेश्वरी र जयवागेश्वरीलगायत देवी मन्दिर, मैतीदेवी, कालिकास्थान, भद्रकाली, शनि, सङ्कटा, शोभाभगवती, बिजेश्वरी, कङ्केश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, नक्साल भगवती, चामुण्डामाई, सुन्दरीमाई, इन्द्रायणी, वनदेवी, बज्रयोगिनीलगायत शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको घुइँचो बढेको हो ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका कालीका भगवती, नाला भगवती, चण्डेश्वरी, पलाञ्चोक भगवती, पाल्चोक भगवती, कमलामाई, रौतामाई, कालिञ्चोक, पाथीभरा, गहवामाई, मनकामना, इच्छाकामना, दन्तकाली, राजदेवी, छिन्नमस्ता, पाथीभरा, गढीमाई, शैलेश्वरी, विन्ध्यवासिनी, भुवनेश्वरी, सुपादेउराली, उग्रतारालगायत देवी मन्दिरमा पनि बिहानैदेखि श्रद्धालु भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाम लागेको जनाइएको छ ।

नवरात्रका अवसरमा शक्तिपीठ एवं देवी मन्दिरलाई विशेष रुपमा सजाइएको छ । प्रायः सबैजसो शक्तिपीठ उज्यालो बत्ती, ध्वजापताकालगायतले आकर्षक रुपमा साजसज्जा गरिएको हो । दर्शनसँगै शक्तिपीठमा तस्बिर खिचाउने, टिकटक बनाएर रमाइरहेकाहरु पनि देखिन्छन् ।

नवरात्रको चौथो दिन आज दसैँ घर वा पूजा कोठामा नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डा देवीको आह्वान गरी विशेष पूजा आराधना गरिँदै छ । नौ दिनसम्म नौ वटी देवीको विशेष पूजा हुन्छ । नौ दिनसम्म पूजा गरी विजयादशमीका दिन देवीको प्रसादका रुपमा प्रसाद र समृद्धिको प्रतीकका रुपमा जमरा लगाइन्छ । यो क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।

सामुदायिक विद्यालय कर्मचारीलाई दरबन्दीमा राख्न शिक्षामन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनसमक्ष नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालय कर्मचारीलाई दरबन्दीमा राख्नुपर्ने लगायत माग प्रस्तुत गरेको छ । परिषद्ले विद्यालय कर्मचारीका लामो समयदेखि थाँती रहेको समस्या र विगतमा सरकारसँग भएका सहमतिका आधारमा उचित सम्बोधनका लागि शिक्षामन्त्री पुनलाई आज केशरमहलस्थित मन्त्रालयमा भेटेर आग्रह गरेको जनाइएको छ ।

परिषद्का केन्द्रीय अध्यक्ष गङ्गाराम तिवारीले शिक्षामन्त्री पुनले आफूलाई विद्यालय कर्मचारीका समस्या थाहा भएको र चाडपर्वपछि आपसमा बसेर के सम्बोधन गर्न सकिन्छ गरौँला भन्ने आवश्वासन दिएको जानकारी दिए। मन्त्री पुनले वर्तमान सरकार निर्वाचन गराउने मुख्य दायित्वका साथ आएकाले धेरै अपेक्षा नगर्न पनि आग्रह गरेका हुन् ।

परिषद्का बागमती प्रदेश कमिटीका अध्यक्ष रामशरण फुयाँलले प्रत्येक सामुदायिक विद्यालयमा एक कम्प्युटर शिक्षकको दरबन्दी राख्न शिक्षामन्त्री पुनको हालैको निर्देशनलाई सकारात्मक मान्दै कम्प्युटरमा क्षमतावान लेखापाललाई नै उक्त दरबन्दीमा रुपान्तरण गर्न सकिने सुझाव मन्त्री पुनलाई दिइएको बताए। प्रदेश अध्यक्ष फुयाँलले त्यती रकमले कसरी ती कर्मचारीले परिवार पाल्ने भन्ने विषयमा गम्भीर भएर सोच्न मन्त्रालयलाई ध्यानाकर्षण गराइएको बताए ।

सर्वोच्च अदालतको २०६७ माघ २३ को आदेशमा कर्मचारीको सेवा, शर्त, सुविधा उल्लेख गरी सर्भिस ल बनाइ कार्यान्वयन गर्न उल्लेख गरिए पनि हाल विद्यालयका लेखापालले मासिक रु १५ हजार र कार्यालय सहायकले रु १० हजार पाउँदै आएका छन् । सङ्घीय संसदमा विचारधीन रहेको विद्यालय शिक्षा विधेकमा विद्यालय कर्मचारीलगायतका समस्या सम्बोधनको पहल गरिएको भए पनि प्रतिनिधिसभाको विघटन भएकाले अहिले कानुन बन्ने स्थिति छैन । रासस

 

 

तुइनखोलाको पहिरो आज सकिएला पन्छाएर ?

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुइनखोलामा खसेको पहिरो अहिलेसम्म ६० प्रतिशत पन्छाइएको छ । डिभिजन सडक कार्यालय, भरतपुरले बिहीबार दिउँसो सूचना प्रकाशित गरी यस्तो जानकारी दिएको हो ।पहिरो पन्छाउनको लागि नारायणगढ तर्फबाट एक्साभेटर १, लोडर १ र मुग्लिन तर्फबाट लोडर २, एक्साभेटर ३ वटा प्रयोग गरी निरन्तर रुपमा काम भइरहेको कार्यालयले जनाएको छ । यसका अलावा दुवैतर्फ १-१ वटा ब्याक हो लोडर तैनाथ अवस्थामा रहेका छन् ।

काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एक पटकमा दुवै तर्फबाट कुल ५ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको छ । पहिरो पन्छाउने क्रममा नारायणगढ साइडतर्फ ठूलाठूला ढुंगाहरूका कारण कठिनाइ भएको डिभिजन कार्यालयले जनाएको छ ।

पहिरोको थुप्रोमा ढुंगाहरूको मात्रा बढी भएको र स–साना तिखा ढुंगाहरूका कारण टायर पञ्चर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याहरुले गर्दा सोचे अनुसारको प्रगति हुन नसकेकोले हेभि इक्प्यूमेन्ट डिभिजन हेटौंडा र डुम्रे बाट दुइजना अपरेटरहरु पनि थप गरिएको छ ।

कुनै पनि बाधा आइनपरे निरन्तर रुपमा कार्य गर्न सकिएको खण्डमा सम्भवत आज रातिसम्ममा पूर्ण रुपमा पहिरो हटाई आवागमन सञ्चालनमा ल्याउने डिभिजन कार्यालयको आंकलन छ । पटक–पटक ठूलो पहिरो खस्दा मुग्लिन–नारायणघाट सडकमा गएको एक सातादेखि गाडी चल्न सकेका छैनन् । तीन दिन लगाएर पहिरो पन्छाएको ठाउँमा गएको मंगलबार झन् ठूलो पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध छ । दसैँसहितका चाडपर्वको संघारमा राजधानी काठमाडौँ आवात जावत गर्ने मुख्य सडक अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन् ।

भोजपुरमा रेविज विरुद्ध खोप अभियान सञ्चालन

भोजपुर । जिल्लामा रेविज रोकथामको लागि खोप अभियान सञ्चालन गरिएको छ । प्राण घातक रेविज रोग निन्यन्त्रण तथा रोकथामका लागि साप्ताहिक खोप अभियान सञ्चालन गरिएको हो । यो अभियानमार्फत गाउँघरमा रहेका कुकुर तथा विरालालाई निःशुल्क खोप लगाउने काम जारी रहेको भेटेरेनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रलेका प्रमुख पुष्पराज दाहालले जानकारी दिए ।

“रेविज रोग नियन्त्रणको लागि निःशुल्क खोप अभियान सञ्चालन गरिरहेका छौँ” उनले भने,“यो अभियानमार्फत घरपालुवा सम्पूर्ण कुकुर, बिरालोलाई खोप लगाउँछौँ ।”

निःशुल्क खोप अभियान यहि असोज ६ गतेबाट १२ गतेसम्म सञ्चालन भइरहेको केन्द्रले जनाएको छ । अहिले स्थानीयले दैनिक १५-२० कुकुर, बिरालोलाई खोप लगाउनको लागि ल्याउने गरेका छन् । रेविज रोग उन्मुलनका लागि वर्षेनी खोप अभियान सञ्चालन भइरहेको कार्यालयले जनाएको छ ।

कमल थापाको दाबी : जति ठूलो पार्टी खोले पनि बालेनले बहुमत ल्याउन सक्दैनन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले अहिलेकै निर्वाचन प्रणालीबाट कुनै पनि एक दलको बहुमत आउन नसक्ने दाबी गरेका छन् । आज (बिहीबार) एक कार्यक्रममा बोल्दै थापाले यस्तो दावी गरेका हुन् ।

‘एकथरीले हल्ला गर्दैछन्–अब बालेन साहले पार्टी खोल्छन्, बालेनको पार्टी ठुलो हुन्छ,’ थापाले भने, ‘जति ठुलो भए पनि एउटै पार्टीले अहिलेको निर्वाचन प्रणालीअनुसार समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणालीको आधारमा बहुमत प्राप्त गर्न सक्दैन ।’ त्यो अवस्थामा बालेन अथवा अन्य कोही नयाँ पार्टी खोल्ने व्यक्तिले पनि पुरानै नेपाली कांग्रेस र नेकपा एमालेकै सहयोगमा सरकार बनाउनु पर्ने उनले बताए । ‘के अर्थ आयो त्यसपछि भन्नुस् त ?,’ थापाले प्रश्न गरे ।

गत आवमा पनि अन्नपूर्णमा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका शतप्रतिशत सुरक्षित प्रसूति सेवा उपलब्ध गराउने स्थानीय तह बनेको छ ।

मातृशिशु स्वास्थ्यमा सुधार ल्याउनका लागि अन्नपूर्ण गाउँपालिकाले घरमा प्रसूति हुनेको सङ्ख्या शून्य बनाएको हो । असुरक्षित प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी नवजात शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउन गरेको प्रयासस्वरुप घरमा प्रसूति हुनेको सङ्ख्या लगातार दोस्रो वर्ष शून्य कायम भएको अन्नपूर्ण गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक समुद्र बरुवालले जानकारी दिए।

‘अन्नपूर्णका सबै गर्भवतीहरूले पछिल्लो दुई वर्षयता स्वास्थ्य संस्थामा पुगेर दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिएका छन् । घरमा प्रसूति हुनेको सङ्ख्या शून्य बनाएका छौ,” उनले भने,“यसलाई कायम राख्नका लागि सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ ।”

यहाँ आर्थिक वर्ष २०८१/८२ ७९ र २०८०/८१ मा ९१ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । आव २०७९/८० मा एक सय ३९ मध्ये एक सय ३५ जनाले संस्थागत प्रसूति सेवा लिँदा एक जनाले मात्र घरमा र चार जनाले मृत बच्चा जन्माएका थिए ।

आव २०७८/७९ मा पालिकामा एक सय २७ जनाले संस्थागत प्रसूति सेवा लिएका थिए । घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन पालिकाले ‘आमासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरेको छ । तोकिएको समयमा नियमित गर्भ परीक्षण र संस्थागत प्रसूति सेवामा पहुँच बढाएर मातृ शिशु मृत्युदर घटाउन, स्वास्थ्य र पोषण सुधार गर्न कार्यक्रम प्रभावकारी बनेको उपाध्यक्ष दिवा तिलिजा पुनले बताए ।

गर्भवती स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थामा आउँदा अण्डा र सुत्केरीलाई घरमै पुगेर भाले दिने गरिएको उनले बताए । अन्नपूर्णले सुरक्षित प्रसूति सेवा, पोषण सुधार लगायतका कार्यक्रमका लागि सङ्घीय र प्रदेश सरकारको अनुदान बाहेक वार्षिक रु एक करोडको हाराहारीमा बजेट विनियोजन गरेको अध्यक्ष भारतकुमार पुनले बताए ।

तोकिएको मितिमा चार पटक गर्भ परीक्षण गर्दा हरेक पटक एक/एक क्रेट अण्डा र संस्थागत प्रसूति हुनेलाई जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरमै पुगेर एउटा कुखुराको भाले दिने गरिएको छ । सुत्केरी भएपछि पनि तीन पटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अण्डा, एक किलोग्राम सर्वोत्तम पिठो र बच्चालाई न्यानो कपडा दिने गरिएको छ ।

उपहार दिन थालिएपछि गर्भ परीक्षण गराउने र संस्थागत प्रसूति सेवा लिने दर शतप्रतिशत भएको घार स्वास्थ्य चौकीको अहेब मातृकाप्रसाद जोशीले बताए। नियमित गर्भ र सुत्केरी परीक्षण गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था तथा समस्या पहिचान गरेर जोखिमको व्यवस्थापन गर्न सहज भएको उनले बताए ।

गर्भवती र सुत्केरीको खानपान, सरसफाइ र स्याहारसुसारमा जागरण आएको छ । आठ वडा रहेको अन्नपूर्णको दोवा र दाना बाहेक, भुरुङ–तातोपानी, नारच्याङ, शिख, घार, हिस्तान र राम्चेका स्वास्थ्य संस्थामा प्रसूति सेवा केन्द्र छन् ।

वडा नं ५ मा पर्ने पाउद्वारको सामुदायिक स्वास्थ्य एकाइमा पनि प्रसूति केन्द्र सञ्चालनमा छ ।

लहान वितरण केन्द्रमा ४४ करोडभन्दा बढी विद्युत् बक्यौता

सिरहा । नेपाल विद्युत् प्राधिकरणको लहान वितरण केन्द्रमा बक्यौता रकम रु ४४ करोड नाघेको छ । आर्थिक वर्ष २०८२/८३ को साउन मसान्तसम्मको तथ्याङ्कअनुसार बाँकी बक्यौता रु ४४ करोड ९२ लाख ५७ हजार १८४ रहेको छ ।

कार्यालयले बक्यौता असुल गर्न विद्युत् लाइन काट्ने अभियान सञ्चालन गरेपछि हालसम्म रु १७ लाख ३२ हजार ३१२ सङ्कलन गर्न सफल भएको छ । वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताका अनुसार बाँकी बक्यौता रकम तिर्नुपर्नेमा उद्योग, सरकारी कार्यालय र कृषि सिँचाइ मिटरका ग्राहकहरू रहेका छन् ।

“कृषि सिँचाइ मिटरअन्तर्गत लहान नगरपालिकाले मात्रै रु एक करोड ३९ लाख ८७ हजार ६२२ तिर्न बाँकी छ”, प्रमुख गुप्ताले भने, “गत असार २५ गते पत्र काटिएको भए पनि हालसम्म नगरपालिकाले कुनै भुक्तानी गरेको छैन ।”

प्राधिकरणको नियमअनुसार उपभोक्ताले ६० दिनभित्र विद्युत् महसुल तिर्नुपर्ने व्यवस्था भए पनि लहान वितरण केन्द्रमा औसतमा नौ महिनासम्म पनि बक्यौता असुल हुन नसकेको उनको भनाई छ । “अब बाँकी रकम असुल गर्न लाइन काट्नुबाहेक हामीसँग अर्को विकल्प छैन”, गुप्ताले भने ।

विद्युत् चुहावटको अवस्था पनि वृद्धि हुँदै गएको छ । आव २०८०/८१ मा चुहावट दर ३१ दशमलव ६५ प्रतिशत रहेकामा आव २०८१/८२ मा बढेर ३८ दशमलव १० प्रतिशत पुगेको प्रमुख गुप्ताले जानकारी दिने। उनका अनुसार चालु आवको साउन मसान्तसम्ममा यो दर बढेर ४४ दशमलव ४६ प्रतिशत पुगेको छ । यसैबीचमा प्राधिकरणले ७०३ जना ग्राहकलाई कारबाही गरी रु ३१ लाख ५४ हजार २२५ चुहावट महसुल असुल गरेको कार्यालयले जनाएको छ ।

सिरहामा प्राधिकरणका लहान, मिर्चैया र सदरमुकाम गरी तीन वटा वितरण केन्द्र रहेका छन् । लहान वितरण केन्द्रअन्तर्गत लहान, सुखीपुर, धनगढीमाई नगरपालिका र बरियारपट्टी, विष्णुपुर, औरही, लक्ष्मीपुर पतारी, नवराजपुर तथा भगवानपुर गाउँपालिका रहेका छन् ।

कात्तिक मसान्तसम्म मतदाता नामावली नाम दर्ता गर्न पाइने

काठमाडौं । निर्वाचन आयोगले आउँदो कात्तिक मसान्त (कात्तिक ३०) सम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ । आज (बिहीबार) बसेको आयोगको बैठकले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो । ‘कार्तिक मसान्तसम्म मतादाता नामावली संकलन गर्ने निर्णय भएको छ । आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने छन्’, कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने ।

निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने व्यवस्था सरकारले अध्यादेशमार्फत परिमार्जन गरेपछि आयोगले नयाँ निर्णय गरेको हो । आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गर्ने म्यान्डेट पाएको छ । निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने व्यवस्था छ । तर सरकारले बुधबार अध्यादेश ल्याएर उक्त व्यवस्था हेरफेर गरेको छ ।

 

माओवादी वैठकमा सुदन किरातीको प्रश्न : हाम्रो प्रतिनिधित्व कसले गर्ने ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य सुदन किरातीले पार्टी बैठकमा सबै नेताले आ–आफ्नो कुरा राख्न पाउनु पर्ने माग गरेका छन् । आज (बिहीबार) देखि काठमाडौंमा सुरू भएको केन्द्रीय समिति बैठकमा किरातीले सबैले आफ्ना कुरा आफैले राख्नु पर्ने माग गरेका हुन् ।

बैठकमा अध्यक्ष प्रचण्डले पेस गर्ने प्रतिवेदनमा भौगोलिक र गैरभौगोलिक समूह बनाउने र त्यहाँ छलफल गरेर हलमा निष्कर्ष र सुझाव प्रस्तुत गर्ने कार्यसूची थियो । यसमा असहमति जनाउँदै केही नेताहरूले सबैले वर्तमान परिस्थितिबारे दुई-तीन मिनेट भए पनि बोल्न पाउनु पर्ने भनेका थिए । माओवादी निकट अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष समेत रञ्जित तामाङले नेताहरुमा बाहिर अनेक बोल्ने तर पार्टी बैठकमा केही नबोल्ने प्रवृत्ति भएको बताएका छन् ।

‘अहिलेको परिस्थितिका विषयमा बाहिर अनेकौं कुराहरू आइराखेका छन् । बाहिर राखेका कुराहरू हामी आधिकारिक मानिरेहका छैनौं । अवको यो स्थितिमा पार्टीको संगठनलाई कसरी अगाडि लाने हो भन्ने दृष्टिकोणमा सबैले दुई-तीन मिनेट राख्नुपर्छ । बाहिर अनेकौं तर्क राख्ने । पार्टीको बैठकमा केही नराख्ने । केही सीमित मान्छेहरूले मात्रै राख्ने अवस्थाले अहिलेको अवस्थालाई नेतृत्व गर्न सकिँदैन,’ तामाङले भने । तामाङलाई बीचमा रोकेर महासचिव देव गुरूङले ती सबै विषयवस्तु समूहगत छलफलमा पनि आउने बताएका थिए । त्यसपछि सुदन किराती बोलेका हुन् ।

‘आमाले त आफ्नो नानीको प्रतिनिधित्व गर्न सक्दैन भने यहाँ कसैले हाम्रो प्रतिनिधित्व गर्न सक्दैन । हामी आफै बोल्नु पर्छ,’ किरातीले भने । पूर्व पर्यटन मन्त्री समेत रहेका किराती माओवादी केन्द्रभित्र उपमहासचिव जनार्दन शर्मा निकट मानिन्छन् । शर्माले जेनजी आन्दोलनपछिको परिस्थितिमा अध्यक्षलगायत सबै पदाधिकारीले राजीनामा दिनुपर्ने र वरिष्ठ नेताको संयोजकत्वमा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव आइतबारको बैठकमा राखेका थिए । उनले पार्टीको नेतृत्वमा पुस्तान्तरणको विषयलाई उठाउँदै आएका छन् ।

देशभर स्थानीय वायुको आंशिक प्रभाव रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागका केही, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा तथा बाँकी एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । साथै कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रचण्डको आशंका : नेताहरूलाई जेल हालेर चलखेल हुनसक्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनपछि देश झनै गम्भीर मोडमा रहेको भन्दै धेरैखाले चलखेलहरू भइरहेको दाबी गरेका छन् । केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष प्रचण्डले संविधान मास्ने, अन्तरिम सरकार जारी गर्ने र देशमा विभिन्न बहानामा अराजकता मच्चाएर प्रतिगामी शक्ति हावी गराउने खेल हुनसक्ने आशंका गरिएको छ । प्रचण्डले लोकतान्त्रिक दलका नेताहरूलाई भ्रष्टाचार वा अन्य बहानामा जेल हालेर दलमाथि प्रतिबन्ध लगाउने खतरा समेत औंल्याएका छन् । उनले सबै परिस्थितिलाई गम्भीरता साथ लिएर फागुन २१ मै चुनाव गराउन लाग्नुपर्ने बताएका छन्।

अध्यक्ष प्रचण्डको प्रतिवेदनमा भनिएको छ– जेनजी आन्दोलनपछि गैरदलीय सरकार बनेपनि हाम्रा उपलब्धिहरू माथिको संकट भने टरेको छैन । विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, अन्तरिम संविधान जारी गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरूलाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने, लोकतान्त्रिक राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाउने र आफू अनुकूल निर्वाचन र परिणामबाट आफ्नो कठ्पुतली पात्रमार्फत् स्वार्थसिद्ध गर्ने प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलहरु बाँकी नै रहेका छन् ।

यो सबै परिस्थितिलाई गम्भीरतापूर्वक समीक्षा गरी आगामी फागुन २१ मा निर्वाचन सम्पन्न हुने वातावरण बनाउन जोड दिनुपर्छ । प्रचण्डले यसबीचमा आफूसहितको पहलमा संविधान जोगाउन सफल भइएको भन्दै षडयन्त्रहरू कायमै रहेको बताएका छन् । उनले शीतल निवासमा सुशीला कार्की प्रधानमन्त्री बन्नुअघिका वार्तामा वार्तामा आफूले संविधान र लोकतन्त्रमा कुनै सम्झौता गर्न नसकिने, संसदबाटै नयाँ सरकार गठन गरी समस्याको निकास खोजिनु पर्ने, संसदबाटै नयाँ जनादेशमा जानुपर्ने, संसदले नियमित कारवाही नगर्ने तर जेनजीले उठाएका प्रत्यक्ष कार्यकारीलगायतका मागहरु सम्बोधन गर्नुपर्ने अडान प्रस्तुत गरेको जनाएका छन् ।

लोकतन्त्रमाथि सरकारकै गतिविधिका कारण संकट आउनसक्छ र जनतामा चुलिएको आक्रोश कुनै पनि बेला सडक तथा सदनबाट विष्फोट हुनसक्ने भन्दै आफूहरुले चेतावनी दिएको पनि प्रचण्डले जनाएका छन् । ‘तर सरकारले हाम्रो खबरदारीको संवेदनशीलता र गाम्भीर्यता बोध गरेन । बरु सरकार विचौलिया र दलालहरुको हितका पक्षमा एकपछि अर्को कुशासनका श्रृंखलामा तल्लीन रह्यो । दुई तिहाइ संख्याको दम्भमा संवेदनहीन बन्दै असन्तुष्टिका आवाजहरु दबाउँदै आएको सरकारले सामाजिक सञ्जालमाथि नै प्रतिबन्ध लगाएपछि परिस्थिति विष्फोटक बन्न पुग्यो’, प्रचण्डको प्रतिवेदनमा भनिएको छ ।

सरकारका यिनै गतिविधिहरुले सिर्जना भएको असन्तुष्टि र आक्रोशलाई आफ्नो निहित स्वार्थमा उपयोग गर्न प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरुले उपयुक्त मौका पाए । यसकै परिणामस्वरुप गत भदौ २३ गते शान्तिपूर्णरुपमा सुरु भएको जेन जी आन्दोलन नरसंहारमा रुपान्तरित भयो ।

भदौ २४ गते राष्ट्रपति भवन, व्यवस्थापिका संसद, सर्वोच्च अदालत, सिंहदरबार जस्ता देशकै ऐतिहासिक सम्पदाका साथै सयौं सार्वजनिक कार्यालय, लोकतान्त्रिक दलका नेताहरुका निवास, बैंक, वित्तीय संस्था, मिडिया तथा व्यावसायमा भीषण आगजनी, लुटपाट, तोडफोड गरिनुका साथै भौतिकरुपमा समेत आक्रमण गरियो र राष्ट्रले अकल्पनीय क्षति बेहोर्नु पर्‍यो ।

एउटा कुरा के प्रष्ट छ भने आन्दोलनमा तोडफोड, लुटपाट र आगजनीका साथै राजनीतिक व्यक्तित्वहरुमाथि भौतिक आक्रमण हुने कुरा पूर्णत नियोजित र योजनावद्ध थियो । हामीले नै उठाएका मुद्दाहरुमा सुरु भएको आन्दोलनमा हामीमाथि नै आक्रमण हुने जस्ता घटनाहरु जेन–जी आन्दोलनकारीले गर्न सक्दैनन, ऊनीहरुबाट भएका होइनन् ।

महेन्द्रनगरमा वातानुकूलित महसुल काउन्टर सञ्चालन

कञ्चनपुर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरले सेवाग्राही तथा कर्मचारीलाई सहज र व्यवस्थित सेवा प्रवाह गर्ने उद्देश्यले वातानुकूलित महसुल काउन्टर सञ्चालनमा ल्याएको छ ।

केन्द्रको हालै निर्मित आधुनिक भवनभित्र सञ्चालनमा ल्याएको महसुल काउन्टरमा चारवटा एयर कण्डिसन (एसी)जडान गरिएको छ । केन्द्र प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार गर्मीयाममा सेवाग्राही लामो समयसम्म पालो पर्खिन बाध्य हुने अवस्थाको अन्त्य गर्न सुविधाजनक वातावरणमा महसुल बुझाउने व्यवस्था मिलाइएको हो ।

“पहिले गर्मीका कारण सेवाग्राहीलाई असुविधा हुने गरेको थियो, अहिले वातानुकूलित कोठामा सहजै पालो पर्खेर महसुल बुझाउन सक्ने भएका छन्”, श्रीवास्तवले भने । उनका अनुसार यस कदमले कर्मचारीलाई पनि काम गर्न सहज र उत्साहजनक वातावरण उपलब्ध गराएको छ । सेवाग्राहीको घुइँचो नियन्त्रण गर्न र सेवा प्रवाहलाई व्यवस्थित बनाउन महसुल काउन्टरमा टोकन प्रणाली लागू गरिएको उनले जानकारी दिए ।

ग्राहकले अनावश्यक समस्या र अवरोध बिना शान्तिपूर्वक पालोअनुसार महसुल बुझाउन सक्ने व्यवस्था गरिएको छ । वितरण केन्द्रअन्तर्गत हाल ७९ हजार विद्युत् ग्राहक छन् । तीमध्ये करिब ४० हजार ग्राहक महेन्द्रनगरको महसुल काउन्टरमार्फत महसुल बुझाउने गर्छन् ।

बाँकी ग्राहकलाई सहज बनाउने उद्देश्यले झलारी, गुलरिया र दोधारा–चाँदनी क्षेत्रमा पनि आय सङ्कलन काउन्टर सञ्चालन गरिएको केन्द्र प्रमुख श्रीवास्तवले जानकारी दिए। प्राधिकरणले पछिल्ला वर्षमा सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा दिने उद्देश्यले नयाँ भवन, आधुनिक प्रविधि र व्यवस्थापकीय सुधार गर्दै आएको छ ।

वातानुकूलित काउन्टर सञ्चालनलाई पनि सोही अभियानको एक महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ । स्थानीयवासीले विद्युत् महसुल बुझाउन अब सहज हुने र सेवाग्राहीलाई समय बचत हुने अपेक्षा व्यक्त गरेका छन् ।

कर्मचारीले घुस मागे, अनावश्यक दुःख दिए, रुखो व्यवहार गरे सिधै उजुरी दिनुस् : मन्त्री घिसिङ

काठमाडौं । अब विभिन्न मन्त्रालय, विभाग, आयोजना तथा मातहतका कार्यालयहरुमा अब सेवाग्राहीको गुनासो सम्बोधन हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, शहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विभाग, आयोजना तथा मातहतका कार्यालयहरूमा ढिलासुस्ती, मोलमोलाहिजा, काम पन्छाउने, घुस रिसवत माग्ने, अनावश्यक दुख हैरानी दिने, सेवाग्राहीसँग अपमानजनक व्यवहार गर्ने जस्ता कार्य भएमा सेवाग्राहीको गुनासो सम्बोधन गर्ने व्यवस्था मिलाएको हो ।

ऊर्जामन्त्री कुलमान घिसिङले विभिन्न मन्त्रालय, विभाग, आयोजन तथा मातहतका कार्यालयहरु यस्ता प्रकारका गुनासोहरु आए सेवाग्राहीलाई उजुरी गर्न अनुरोध गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफूले सम्हालेको मन्त्रालयअन्तर्गतका विभाग आयोजनाहरुमा सेवाग्राहीलाई दुख दिए खबर गर्न आग्रह गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, शहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विभाग, आयोजना तथा मातहतका कार्यालयहरूमा हुने ढिलासुस्ती, मोलमोलाहिजा, काम पन्छाउने, घुस रिसवत माग्ने, अनावश्यक दुख हैरानी दिने, सेवाग्राहीसँग अपमानजनक व्यवहार गर्ने जस्ता कार्य भएमा सेवाग्राहीको गुनासो सम्बोधन गर्ने व्यवस्था मिलाइएको उनले बताए । कुनै गुनासो वा सुझाव भएमा विभिन्न माध्यमहरू प्रयोग गरी जानकारी दिन सकिने उनले बताए । मन्त्रालयपिच्छे फरक–फरक नम्बरहरु राखिएको छ । यसअघि अर्थ मन्त्रालयले पनि सेवाग्राहीलाई दुख दिए उजुरी गर्न भनिसकेको छ ।

हेर्नुस् सूचना

सडकको समस्याले हवाई चाप बढ्यो (तस्बिरहरु)

काठमाडौँ । मुग्लिन-नारायणघाट सडक अबरुद्ध भएपछि दशैंका लागि बाहिर जाने यात्रुहरूको चाप त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा बढ्दै गएको छ। सडक असुरक्षित भएपछि मानिसहरु हवाई यात्रातिर मोडिएका हुन् ।

यात्रुको चाप बढेसँगै विमान कम्पनीहरुले भाडा पनि बढाएका छन् ।

मुग्लिन-नारायणगढसँगै अन्य मुख्य राजमार्गहरुमा पनि समस्या छ । दशै‌को मुखमा सडक सहज नहुँदा सबैलाई समस्या परेको छ ।

 

माटो बेचेर दसैँ खर्चको जोहो

महोत्तरी । दसैँ नजिकिँदै गर्दा यहाँका आर्थिक अवस्था कमजोर भएका परिवारले माटो बेचेर खँर्चको जोहो गर्न थालेका छन् । सधैँ खँर्चको व्यवस्थापन गर्न सकस पर्ने यहाँका गरिब परिवारले नवरात्र सुरु भएसँगै घर लिपपोत गर्ने विभिन्न रङका माटो बेचेर आम्दानी गर्न थालेका हुन् ।

दशहरा (दसैँ), दीपावली र छठपर्वअघि विभिन्न रङका माटोले घर पोतेर चिटिक्क टल्काउने मधेसको स्थापित परम्पराका कारण यहाँका गरिब परिवारले अतिरिक्त आर्जनको अवसर पाएका छन् । किसानको खेतपातीमा श्रम गरेर जीविकोपार्जन गर्ने श्रमिक अहिले माटोको खोजीमा निस्कन्छन् ।

दसैँमा कमेरे (सेतो), चिम्टाइलो (पहेँलो)र रातो माटोको माग हुने भएकाले श्रमिकका परिवार माटो खोज्न र बेच्न जुटेका छन् । पहेँलो र कमेरे माटो ठूलठूला पोखरीका डिल, नदी किनारको भिर र पुराना खाल्डा नजिक पाइन्छ । रातो माटो लिन चुरे पहाडका थुम्काहरूमा पुग्नुपर्ने भङ्गाहा–४ की हेमनी सदा मुसहरले बताएकी छिन् ।

“पवनी (पर्व)लाई हामीले साँचेर राखेको केही हुँदैन । दैनिक काम गरेर आउने रकमले जीविकोपार्जन भइरहेको छ”, उनले भनिन्, “हाम्रा लागि पवनीभित्रै अवसर आउँछन्, अहिले माटो बेचेर दशहरा मेलाका लागि खँर्च बनाउँदैछौँ ।” दशहरा खाने, पिउने, रमाइलो गर्ने पर्व भएकाले यसका लागि बढी खँर्चको जोहो गर्नुपर्ने उनको भनाई छ ।

अहिले माटो खोज्न, खन्न र ओसार्न बस्तीबस्तीबाट समूहमा निस्कने गरिएको उनले बताएकी छिन् ।

ग्रामीण बस्तीमा अधिकांश बाँसका चोयाको बारसहितका भित्ता भएका घर हुन्छन् । यस्ता घरका भित्ता बर्सेनि दसैँ, तिहार र छठअघि माटोले पोतेर रङग्याउने चलनले यी पर्वमा विभिन्न रङका माटोको माग बढ्छ । यसै अवसरलाई अहिले श्रमिकले अतिरिक्त नगदको जोहोमा जोड्दै छन् ।

अहिले फरकफरक रङका माटोको खोजी गर्ने समूहको गन्तव्य नदीले दह, विभिन्न खेतका डिल, पुराना पोखरी र चुरे पहाड क्षेत्रका रातो माटोका थुम्का भएका छन् । अहिले गरेको मेहनतले आफ्नो घर पोत्न, दुर्गामेला खँर्च र पवनीमा घरखर्चको व्यवस्थापन गर्न सकिने स्थानीय भुठ्ठी सदाले बताईन्।

नवरात्रको आज चौथो दिनसम्ममा भङ्गाहा–६ की पुर्नी महराले रु पाँच हजारको माटो बेचिसकेकी छिन् । अझै दुई–तीन दिन मेहनत गर्दा थप रु पाँच–सात हजार आम्दानी हुने जनाउँदै उनले यसले पर्व खँर्चको व्यवस्थापन हुने बताईन् । “दशहरा पर्व सुरु भएसँगै गरिब बस्तीका महिलाले घर पोत्ने, रङग्याउने काम पनि पाएका छन् । अरु बेलाको भन्दा अलि बढी पारिश्रमिक पाइने हुँदा श्रमिकहरूलाई यो पनि अवसर बन्ने गरेको छ”, उनले भनीन्।

महोत्तरीका भङ्गाहा, मेघरोल, मदनपट्टी, पर्सा, धरमपुर, भीमगढ, मझौलिया, बनरा, गोरहन्ना, निगौल, बिसरपुर गौशाला रजखोरबिर्ता र धनसपुरसहितका थारु बस्तीमा अहिले माटो सङ्कलन गरी बेच्नेको व्यस्तता देखिन्छ । थारु महिला विभिन्न रङको माटोले घर पोत्न, विभिन्न रङका माटो सङ्कलन गरी बेच्न व्यस्त छन् । घरघरमा हाँस, कुखुरा र परेवा पाले पनि थारु बस्तीका घरहरू सफा चिटिक्क देखिन्छन् । घर सरसफाइ, रङरोगन र सजावटमा थारु महिला अब्बल देखिन्छन् ।

अहिले थारु महिलाको सङ्गतले अन्य समुदायका गरिब महिला पनि माटो सङ्ग्रहमा लागेका छन् । अहिले माटो जम्मा गर्नसके मेलामा रमाउन र स–साना नानीहरूको खानपिनको रहर पुर्‍याउन सहयोग पुग्ने भएकाले माटो सङ्कलनमा जुटेको स्थानीय आसवती चौधरीले बताएकी छिन् । उनका अनुसार अहिले जम्मा गरेको माटो दसैँपछिको दीपावली र छठसम्म बिक्री हुन्छ ।

मधेसका ग्रामीण बस्तीमा बाँसका कच्चीघर बढी हुने र तिनका भित्ता बाँसका चोया र कर्चीबाट बन्ने भएकाले लिपपोत गर्न माटो आवश्यक पर्ने चौधरीको भनाई छ । प्रत्येक वर्षको दसैँ, तिहार र छठमा घर पोत्ने अनिवार्य चलनले गरिब बस्तीका महिलालाई माटो बेचेर चाडपर्वको खँर्च जोहो गर्ने अवसर बन्ने उनले बताएकी हुन् । पछिल्ला वर्षहरूमा बस्तीबस्तीमा पक्कीघर बन्ने थालेपछि यो कामको विकल्प खोज्ने बेला आएको श्रमिक महिला बताउँछन् ।