`

फिफाको स्पष्टीकरण : जर्मनीको गोल नियमअनुसार नै रद्द गरिएको दाबी

काठमाडौं। विश्वकप फुटबल २०२६ अन्तर्गत जर्मनी र पराग्वेबीचको अन्तिम ३२ को खेलमा जर्मनीको गोल रद्द गरिएको निर्णयबारे फिफाले औपचारिक स्पष्टीकरण दिएको छ।

फिफाका अनुसार गोलअघि जर्मनीका खेलाडी वाल्डेमार एन्टोनले पराग्वेका गोलरक्षक ओर्लान्डो गिलको खेल्ने क्षमतामा अवरोध पुर्‍याएका कारण उक्त गोललाई अमान्य ठहर गरिएको हो।

भिडियो असिस्टेन्ट रेफ्री (भार)को सुझावपछि रेफ्री जलाल जायदले निर्णय परिवर्तन गर्दै गोल रद्द गरेका थिए।

फिफा रेफ्री समितिका प्रमुख पियरलुइजी कोलिनाले गोलरक्षकको चाल वा खेल्ने स्वतन्त्रतामा अनावश्यक अवरोध गर्ने कार्यलाई नियमविपरीत मानिने स्पष्ट पारे। उनले यस्तो अवस्थाबारे प्रतियोगिता सुरु हुनुअघि नै सबै सहभागी टोली, प्रशिक्षक र खेलाडीलाई जानकारी गराइसकिएको बताए।

उक्त निर्णयपछि निर्धारित समय १–१ को बराबरीमा सकिएको खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। त्यसमा पराग्वे ४-३ ले विजयी हुँदै क्वार्टरफाइनलमा पुगेको थियो भने चार पटकको विश्वविजेता जर्मनी प्रतियोगिताबाट बाहिरिएको थियो।

यद्यपि फिफाको निर्णयलाई लिएर बहस भने जारी छ। जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागेल्सम्यानले गोल रद्द गर्नु उचित नभएको प्रतिक्रिया दिएका छन्।

केही फुटबल विश्लेषकहरूले पनि उक्त अवस्थामा भारको हस्तक्षेप आवश्यक थियो वा थिएन भन्ने विषयमा फरक मत राखेका छन्।

एकाएक किन चल्यो सरकारमा मन्त्री फेरबदलको बतास ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीभित्रको शक्ति सन्तुलन र भविष्यको आन्तरिक व्यवस्थापनबारे व्यापक चर्चा सुरु गराएको छ। 

महाधिवेशनअघि नेतृत्वले ‘गुटभन्दा एकता’लाई प्राथमिकता दिने प्रतिबद्धता जनाए पनि त्यसपछिका घटनाक्रमले पार्टीभित्र विभिन्न अपेक्षा, असन्तुष्टि र व्यवस्थापनका चुनौती देखिन थालेको राजनीतिक वृत्तमा चर्चा छ।

महाधिवेशनका क्रममा अधिकांश पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भए पनि अन्ततः निर्वाचन भएको थियो। उम्मेदवारी फिर्ता, साझा उम्मेदवार खडा गर्ने प्रयास र अन्तिम समयसम्म चलेका छलफलले पार्टीभित्र विभिन्न तहमा राजनीतिक सहमति खोजिएको देखिएको थियो। तर निर्वाचन सम्पन्न भएसँगै ती सहमतिका विषय अहिले फेरि बहसको केन्द्र बनेका छन्।

राजनीतिक वृत्तमा यतिबेला महाधिवेशनका क्रममा केही नेतालाई भविष्यमा जिम्मेवारी दिने मौखिक प्रतिबद्धता गरिएको थियो कि भन्ने चर्चा पनि चलिरहेको छ। यद्यपि यसबारे पार्टीले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

मन्त्री फेरबदलको चर्चा किन ?

महाधिवेशनपछि केही मन्त्रालयमा हेरफेर हुन सक्ने चर्चा राजनीतिक वृत्तमा तीव्र बनेको छ। विशेषगरी कार्यसम्पादनका आधारमा केही मन्त्री परिवर्तन हुन सक्ने अड्कलबाजी भइरहेका छन्।

चर्चाअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेतृत्व परिवर्तन गरी गणेश पराजुलीलाई जिम्मेवारी दिने सम्भावना रहेको चर्चा छ। त्यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पनि नयाँ नेतृत्व ल्याउने विषय राजनीतिक रूपमा चर्चामा छ। 

यद्यपि यी सबै विषयबारे न सरकारका तर्फबाट कुनै निर्णय सार्वजनिक भएको छ, न पार्टीले आधिकारिक पुष्टि गरेको छ।

यसअघि पनि प्रधानमन्त्रीका प्रेस संयन्त्रले तत्काल मन्त्री फेरबदलको निर्णय नभएको स्पष्ट पारिसकेको छ।

महाधिवेशनका क्रममा अन्तिम समयमा धेरै उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका थिए। त्यसबेला पार्टीभित्र ध्रुवीकरण रोक्न र साझा नेतृत्व निर्माण गर्न यस्तो निर्णय गरिएको नेताहरूले सार्वजनिक रूपमा बताएका थिए।

तर बाहिर भने उम्मेदवारी फिर्ता लिनुभन्दा अघि भविष्यमा जिम्मेवारी दिने आश्वासन दिइएको थियो कि भन्ने चर्चा पनि भइरहेको छ। यस्ता दाबीहरू सार्वजनिक भए पनि त्यसलाई पुष्टि गर्ने आधिकारिक प्रमाण भने हालसम्म सार्वजनिक भएको छैन।

उम्मेदवारी फिर्ता लिएका अधिकांश नेताले भने आफ्नो निर्णय पार्टीको एकतालाई प्राथमिकता दिएर गरिएको बताएका छन्।

रास्वपाको अहिलेको सबैभन्दा ठूलो चुनौती सरकार सञ्चालन र पार्टी व्यवस्थापनबीच सन्तुलन कायम गर्नु रहेको विश्लेषण हुन थालेको छ। 

यदि पार्टीभित्र गरिएका राजनीतिक सहमति र सरकारको निर्णयबीच तालमेल नमिल्ने अवस्था आयो भने त्यसले संगठनभित्र थप असन्तुष्टि जन्माउन सक्ने आकलन पनि भइरहेको छ।

यद्यपि पार्टीका शीर्ष नेताहरूले सार्वजनिक रूपमा भने महाधिवेशनपछि सबै पक्षलाई समेटेर अघि बढ्ने र कुनै पनि नेता वा समूहलाई अलग महसुस हुन नदिने प्रतिबद्धता दोहोर्याइरहेका छन्।

महाधिवेशन सम्पन्न भइसके पनि मन्त्री फेरबदल वा अन्य संगठनात्मक निर्णयबारे औपचारिक घोषणा आउन बाँकी नै रहेको छ।

रास्वपालाई यक्ष प्रश्न – १८ वर्षमुनिकालाई सदस्यता दिएको हो ?

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई राजनीतिक दलको सदस्यता दिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग स्पष्टिकरण मागेको छ ।

आयोगले बुधबार पत्राचार गर्दै सञ्चारमाध्यममा सार्वजनिक भएको विवरणका आधारमा उक्त विषयबारे यथाशीघ्र जवाफ उपलब्ध गराउन आग्रह गरेको हो ।

हालै रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको दाबी सार्वजनिक भएपछि यस विषयले राजनीतिक वृत्तमा आलोचना र बहस निम्त्याएको छ । सोही सन्दर्भमा आयोगले पनि औपचारिक रूपमा चासो व्यक्त गरेको हो ।

आयोगले १८ वर्षमुनिका व्यक्तिलाई राजनीतिक दलको सदस्यता वितरण गरिएको भए त्यसले प्रचलित नेपाली कानुन तथा नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेका मानवअधिकारसम्बन्धी प्रतिबद्धताको उल्लङ्घन हुने भन्दै सचेत गराएको छ ।

यस विषयमा रास्वपाले दिने जवाफपछि थप अध्ययन र आवश्यक कदमबारे निर्णय हुने आयोग स्रोतले जनाएको छ ।

चितवनमा सम्पन्न प्रथम महाधिवेशनमा पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनअनुसार १८ वर्ष मुनिका ३५ हजार २५७ जना बालबालिकाले रास्वपाको सदस्यता लिएका छन् ।

रास्वपाको कूल सदस्य संख्या ५ लाख २३ हजार ४६५ छ । यसमध्ये ६.७ प्रतिशत सदस्य १८ वर्ष मुनिका बालबालिका छन् ।

यो हेर्नुहोस् :

डा.’ उपाधि विवाद : स्पार्क इन्टरनेसनलको रिट खारेज

काठमाडौं । उच्च अदालत पाटनले नेपाल मेडिकल काउन्सिल (एनएमसी) को कार्यक्षेत्र र नियामक अधिकारलाई वैधानिक ठहर गर्दै स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्ट प्रालिले दायर गरेको रिट निवेदन खारेज गरेको छ ।

डाक्टर चेतना पौडेलसमेत संलग्न उक्त रिटमा रिसोर्ट पक्षले नेपाल मेडिकल काउन्सिलले आफ्नो अधिकारक्षेत्र बाहिर गएर अनुगमन गरेको र अनावश्यक रूपमा हस्तक्षेप गरेको दाबी गरेको थियो । साथै, काउन्सिलको नियामक अधिकारमाथि पनि प्रश्न उठाइएको थियो ।

तर उच्च अदालत पाटनले काउन्सिलको दाबीलाई आधारसहित स्वीकार गर्दै आधुनिक चिकित्सा (एलोपेथी) अभ्यास, नियमन र अनुगमनको अधिकार नेपाल मेडिकल काउन्सिलमै निहित रहेको स्पष्ट पारेको छ ।

फैसलापछि नेचुरोपेथी लगायत वैकल्पिक चिकित्सा प्रणालीमा दर्ता भएका स्वास्थ्यकर्मी वा संस्थाले आधुनिक चिकित्सा निदान तथा उपचार प्रक्रियामा हस्तक्षेप गर्न नपाउने कानुनी व्यवस्था थप प्रस्ट भएको छ ।

यो निर्णयलाई नेपाल मेडिकल काउन्सिलको नियामक भूमिकालाई न्यायिक रूपमा पुष्टि गर्ने महत्वपूर्ण फैसलाका रूपमा लिइएको छ ।

सेयर बजारमा उछाल, नेप्से ४४ अंकले बढ्यो

काठमाडौं। लगातार ओरालो लागेको नेपाली सेयर बजारमा बुधबार अचानक सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४४ अंकले बढ्दै २६५२ विन्दुमा पुगेको हो ।

बुधबारको कारोबारमा बजारमा सकारात्मक माहोल देखिँदा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । मंगलबार ३ अर्ब २५ करोड रुपैयाँको कारोबार भएकोमा आज बढेर ३ अर्ब ८६ करोड रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।

आज कुल २५२ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १७ कम्पनीको मूल्य घटेको छ । साथै ६ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारका सबै सूचक हरियाली देखिएको छ, जसले समग्र बजारमा लगानीकर्ताको मनोबल केही सुधारिएको संकेत गरेको छ ।

कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स र आखु खोला जलविद्युत् अग्रस्थानमा रहेका छन् ।

आजको कारोबारमा स्नो रिभर्स लिमिटेड र सिवाईसी नेपाल लघुवित्तको सेयर मूल्य १५ प्रतिशतले वृद्धि भएको छ भने भुजुङ हाइड्रोपावरको मूल्य १३ प्रतिशतले बढेको छ ।

विश्लेषकहरूका अनुसार लगातार गिरावटपछि आएको यो सुधारलाई बजारको ‘टेक्निकल रिबाउन्ड’ का रूपमा पनि हेरिएको छ, यद्यपि आगामी दिनमा यसको स्थायित्व कस्तो हुन्छ भन्ने विषयमा अझै अनिश्चितता कायम छ ।

अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसमा युट्युबका नयाँ-नयाँ फिचरहरू

काठमाडौं। युट्युबले अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसको अवसरमा प्रयोगकर्ताका लागि विभिन्न नयाँ फिचरहरू सार्वजनिक गरेको छ।

कम्पनीले विशेष ‘अमेरिका २५०’ हब, इन्टरएक्टिभ गेम्स र विशेष दृश्य इफेक्टहरू समावेश गरेको जनाएको हो।

युट्युबका अनुसार ‘अमेरिका २५० हब’ मार्फत यस उत्सवसँग सम्बन्धित भिडियो, लाइभस्ट्रिम र सिफारिस गरिएका सामग्री एकै ठाउँमा हेर्न सकिनेछ। यो हबले प्रयोगकर्तालाई छुट्टै रूपमा क्युरेट गरिएको कन्टेन्ट उपलब्ध गराउनेछ।

त्यस्तै, उत्सवलाई थप आकर्षक बनाउन युट्युबले तीनवटा इन्टरएक्टिभ गेम पनि थपेको छ। ‘फूड र्‍याङ्कर’ गेममार्फत अमेरिकी परिकारहरूलाई तुलना गरी र्‍याङ्क गर्न सकिनेछ भने ‘फायरवर्क्स’ गेममा स्क्रिन ट्याप गरेर आतसबाजी प्रदर्शन अनलक गर्न सकिनेछ। २५० अंक पूरा गरेपछि विशेष फायरवर्क्स शो पनि खुल्नेछ।

अर्को गेम ‘कलरिङ बुक’ मा प्रयोगकर्ताले अमेरिकाका राष्ट्रिय निकुञ्जहरूको दृश्यमा आफूअनुसार रंग भर्न सक्ने सुविधा दिइएको छ, जसले भर्चुअल रूपमा प्राकृतिक दृश्य अनुभव गराउनेछ।

युट्युबले यस अवसरमा आफ्नो लोगोसमेत विशेष ‘अमेरिका २५०’ डिजाइनमा परिवर्तन गर्ने जनाएको छ।

कम्पनीका अनुसार यी फिचरहरूले प्रयोगकर्तालाई डिजिटल रूपमा उत्सवमा जोड्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

सुस्ता र कालापानी नेपालको अभिन्न भूभाग हो : परराष्ट्रमन्त्री

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको भन्दै सीमा सम्बन्धी विषय सरकारका लागि स्पष्ट रहेको बताएका छन्।

उनले यस्ता विवाद कूटनीतिक संवाद र आपसी वार्तामार्फत समाधान गर्ने सरकारको नीति रहेको पनि दोहोर्‍याए।

राष्ट्रियसभाको बुधबारको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले सुस्तामा नारायणी नदीको तटबन्ध निर्माणका क्रममा भारतीय सीमा सुरक्षा बलले अवरोध गरेको विषय तथा सीमा विवाद समाधानका योजनाबारे उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले नेपाल-भारत सीमा १८१६ को सुगौली सन्धिले निर्धारण गरेको बताए।

उनले सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा सीमाङ्कनको कार्य अझै बाँकी रहेको उल्लेख गर्दै नेपालसँग ती भूभाग आफ्नो भएको पुष्टि गर्ने ऐतिहासिक प्रमाण, नक्सा र अन्य आधारहरू रहेको बताए।

सुस्तामा तटबन्ध निर्माणका क्रममा भारतीय पक्षले आपसी समन्वयपछि मात्रै काम अघि बढाउन आग्रह गरेकाले केही समय निर्माण कार्य रोकिएको मन्त्री खनालले स्वीकार गरे।

उनले सीमा सम्बन्धी सबै विषय वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउँदै राष्ट्रिय हित, सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षणमा कुनै सम्झौता नहुने स्पष्ट पारे।

परराष्ट्रमन्त्री खनालले छिमेकी मुलुकहरूसँग पारस्परिक सम्मान र सन्तुलित सम्बन्ध कायम राख्दै सीमा समस्याको दीर्घकालीन समाधान खोज्ने दिशामा सरकार अघि बढिरहेको पनि बताए।

 

सुस्ताको माटो बोकेर आज पनि माइतीघरमा…

काठमाडौं। नागरिकताको माग तथा सीमा सुरक्षा सुनिश्चित गर्नुपर्ने भन्दै सुस्ताबासीहरूले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

उनीहरूले सुस्ताको माटोसमेत प्रदर्शनस्थलमा ल्याएर आफ्नो मागलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेका छन्। यो प्रदर्शन दोस्रो दिन पनि जारी रहेको बताइएको छ।

प्रदर्शनकारीहरूले सुस्ता क्षेत्रका बासिन्दालाई तत्काल नागरिकता उपलब्ध गराउन र सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्।

बेबी बम्पको तस्बिर सार्वजनिक : आमा बन्दै सामन्था

काठमाडौं। दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु आमा बन्ने भएकी छन्। उनले यसै वर्षको अन्त्यतिर आफ्नो पहिलो सन्तानलाई जन्म दिने अपेक्षा गरिएको छ।

सामन्थाले हालै सामाजिक सञ्जालमा आफ्नो बेबी बम्प देखिएको तस्बिर सार्वजनिक गरेकी छन्। कालो पहिरनमा खिचिएको उक्त तस्बिरमा उनको अनुहार भने देखाइएको छैन।

इन्स्टाग्राम स्टोरीमार्फत तस्बिर साझा गर्दै उनले रमाइलो शैलीमा लेखेकी छन्, ‘मेरा सिक्स-प्याक एब्स, अब तिमीसँग केही समयपछि भेट हुनेछ।’

उनको यो पोस्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रशंसकहरूले बधाई तथा शुभकामनाको ओइरो लगाइरहेका छन्।

केही साताअघि मात्रै सामन्थाले आफ्ना पति तथा फिल्म निर्माता राज निदिमोरुसँग पहिलो सन्तानको प्रतीक्षा गरिरहेको जानकारी सार्वजनिक गरेकी थिइन्।

यसअघि आफ्नो फिल्म ‘मा इन्टी बंगारम’को सफलतापछि आयोजित कार्यक्रममा उनले स्वास्थ्य र मातृत्वलाई प्राथमिकता दिन केही समय अभिनयबाट विश्राम लिने बताएकी थिइन्।

उनले भनेकी थिइन्, ‘फिल्म ‘मा इन्टी बंगारम’पछि केही समय स्वास्थ्यमा ध्यान दिन चाहन्छु। म मातृत्व बिदामा रहनेछु र त्यसपछि आफ्ना दर्शकका लागि नयाँ फिल्ममार्फत पुनः ठूलो पर्दामा फर्किनेछु।’

न कानुन, न पूर्वाधार,बजेटको ‘एआई डेटा सेन्टर’

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत काठमाडौंको स्युचाटारमा ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गर्ने घोषणा गरेपछि नेपालमा कृत्रिम बौद्धिकता (एआई) पूर्वाधार निर्माणबारे व्यापक बहस सुरु भएको छ।

सरकारले यसलाई डिजिटल अर्थतन्त्र निर्माणको ऐतिहासिक कदमका रूपमा प्रस्तुत गरिरहेको छ भने सूचना प्रविधि, साइबर सुरक्षा, वातावरण तथा ऊर्जा क्षेत्रका विज्ञहरूले भने परियोजनाको व्यवहारिकता, कानुनी आधार, राष्ट्रिय सुरक्षा र वातावरणीय असरबारे गम्भीर प्रश्न उठाइरहेका छन्।

नेपालमा पहिलोपटक राष्ट्रिय स्तरको एआई कम्प्युट केन्द्र निर्माण गर्ने योजना सार्वजनिक भएसँगै यसको सम्भावित लाभभन्दा पनि आवश्यक तयारी र दीर्घकालीन असरबारे चर्चा बढेको हो।

सूचना प्रविधिको तीव्र विकास भइरहेका बेला आफ्नै उच्च क्षमताको कम्प्युटिङ पूर्वाधार निर्माण गर्नु आवश्यक भए पनि त्यसका लागि आवश्यक पूर्वाधार, नीति तथा नियमन तयार नपारी परियोजना अघि बढाउन खोजिएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

सरकारले बजेटमा सार्वजनिक गरेको योजनाअनुसार स्वच्छ जलविद्युत्को उपयोग गर्दै हजारौँ एआई प्रोसेसिङ युनिट सञ्चालन हुने कम्प्युट केन्द्र निर्माण गरिनेछ। यसबाट स्वदेशी स्टार्टअप, अनुसन्धान संस्था, विश्वविद्यालय तथा प्रविधि उद्यमीहरूले अन्तर्राष्ट्रिय स्तरको कम्प्युटिङ क्षमता सहुलियत दरमा उपयोग गर्न सक्ने अपेक्षा गरिएको छ।

सरकारको बुझाइमा यसले नेपाललाई डिजिटल अर्थतन्त्रतर्फ लैजान, विदेशी क्लाउड सेवामाथिको निर्भरता घटाउन तथा सूचना प्रविधिमा आधारित नयाँ उद्योग विकास गर्न सहयोग पुग्नेछ। विश्वभर कृत्रिम बौद्धिकताको प्रयोग तीव्र गतिमा विस्तार भइरहेका बेला नेपालले पनि त्यसबाट लाभ लिन आफ्नै पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता रहेको सरकारी तर्क छ।

तर घोषणा गरिएको लक्ष्य र अहिलेको वास्तविक अवस्था तुलना गर्दा दुवैबीच निकै ठूलो दूरी रहेको विज्ञहरूको निष्कर्ष छ।

नेपालसँग के छ क्षमता ?

नेपालमा अहिले सरकारी तथा निजी क्षेत्रका केही डेटा सेन्टर सञ्चालनमा छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रले सरकारी प्रणाली सञ्चालन गरिरहेको छ भने नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, बैंक तथा निजी सूचना प्रविधि कम्पनीहरूले पनि आफ्ना डेटा सेन्टर सञ्चालन गरिरहेका छन्।

यद्यपि ती अधिकांश डेटा सेन्टर परम्परागत डेटा भण्डारण, वेबसाइट, क्लाउड सेवा तथा सरकारी प्रणाली सञ्चालनका लागि निर्माण गरिएका हुन्। कृत्रिम बौद्धिकताको ठूलो मोडेल प्रशिक्षण गर्न सक्ने हजारौँ जीपीयूयुक्त डेटा सेन्टर नेपालमा छैन।

यसकारण सरकारले घोषणा गरेको परियोजना अहिले सञ्चालनमा रहेका डेटा सेन्टरभन्दा धेरै गुणा ठूलो र जटिल हुने देखिन्छ।

एआई डेटा सेन्टर सामान्य सर्भर राख्ने भवन मात्र होइन। त्यहाँ हजारौँ ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) चौबीसै घण्टा सञ्चालन गर्नुपर्छ। यही जीपीयूले कृत्रिम बौद्धिकताका विशाल मोडेल प्रशिक्षण गर्ने, भाषा मोडेल सञ्चालन गर्ने तथा ठूलो मात्रामा डेटा प्रशोधन गर्ने काम गर्छ।

तर एउटा उच्चस्तरीय जीपीयूको मूल्य नै लाखौँ रुपैयाँदेखि करोडौँ रुपैयाँसम्म पुग्ने अवस्था छ। हजारौँ यस्ता उपकरण खरिद, जडान र सञ्चालन गर्न अर्बौँ डलर बराबरको लगानी आवश्यक पर्न सक्छ।

यससँगै अत्यधिक विद्युत्, शक्तिशाली चिस्यान प्रणाली, उच्च गतिको नेटवर्क, सुरक्षा प्रणाली तथा निरन्तर मर्मतसम्भार आवश्यक हुने भएकाले परियोजनाको लागत अझ धेरै बढ्ने देखिन्छ।

कानुनी आधार अझै कमजोर

नेपालमा डेटा सेन्टर सञ्चालनसम्बन्धी निर्देशिका भए पनि त्यो सीमित क्षमताका डेटा सेन्टरका लागि मात्र उपयुक्त रहेको विज्ञहरूको भनाइ छ।

एआई डेटा सेन्टर सञ्चालन गर्दा डेटा संरक्षण, कृत्रिम बौद्धिकताको प्रयोग, विदेशी लगानी, साइबर सुरक्षा, डिजिटल सार्वभौमिकता, क्लाउड सेवा, डेटा स्थानान्तरण, राष्ट्रिय सुरक्षा तथा गोपनीयतासम्बन्धी छुट्टाछुट्टै कानुनी व्यवस्था आवश्यक पर्छ।

नेपालमा भने अझै व्यापक डेटा संरक्षण ऐन लागू भइसकेको छैन। साइबर सुरक्षासम्बन्धी कानुनी संरचनासमेत पर्याप्त विकसित नभएकाले यति ठूलो पूर्वाधार सञ्चालन गर्न आवश्यक कानुनी आधार तयार नभएको विश्लेषण गरिएको छ।

आजको संसारमा डेटा नयाँ सम्पत्ति मानिन्छ। नागरिकको व्यक्तिगत विवरण, राष्ट्रिय परिचयपत्र, स्वास्थ्य अभिलेख, बैंकिङ सूचना, सरकारी दस्तावेज र सार्वजनिक सेवासँग सम्बन्धित सबै सूचना डेटा सेन्टरमै सुरक्षित राखिन्छ।

यस्तो अवस्थामा डेटा सेन्टरको स्वामित्व, सञ्चालन र पहुँच कसको नियन्त्रणमा हुन्छ भन्ने विषय राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिन्छ।

विदेशी लगानी आउने सम्भावना रहे पनि स्पष्ट कानुनी संरचना नहुँदा भविष्यमा नेपालको संवेदनशील डेटा विदेशी कम्पनी वा बाह्य प्रभावमा पुग्ने जोखिम रहेको भन्दै साइबर सुरक्षाविज्ञहरूले सरकारलाई सतर्क रहन आग्रह गरेका छन्।

नेपाल भूराजनीतिक रूपमा चीन र भारतबीच रहेको संवेदनशील मुलुक भएकाले डेटा पूर्वाधारसम्बन्धी निर्णयमा अझ बढी सावधानी आवश्यक हुने उनीहरूको भनाइ छ।

डेटा सेन्टरलाई सामान्य भवनजस्तो मात्र हेर्न मिल्दैन। विश्वका धेरै मुलुकमा अहिले डेटा सेन्टरका कारण वातावरणीय समस्या बढिरहेका छन्।

यस्ता केन्द्र सञ्चालन गर्न चौबीसै घण्टा विद्युत् आवश्यक पर्छ। उपकरणले अत्यधिक ताप निकाल्ने भएकाले त्यसलाई चिस्याउन दैनिक लाखौँ लिटर पानी प्रयोग गरिन्छ। निरन्तर सञ्चालन हुने कुलिङ प्रणाली, जेनेरेटर तथा विद्युतीय उपकरणबाट ध्वनि प्रदूषणसमेत सिर्जना हुन्छ।

अमेरिकाका विभिन्न राज्यमा यिनै कारण स्थानीय समुदायले नयाँ डेटा सेन्टर निर्माणको विरोध गरिरहेका छन्। कतिपय परियोजना स्थगित भएका छन् भने केही रद्दसमेत भएका छन्।

नेपालमा भने यस्ता सम्भावित असरबारे विस्तृत वातावरणीय अध्ययन सार्वजनिक गरिएको छैन।

ऊर्जा प्रणालीले धान्छ ?

नेपाल जलविद्युत्मा सम्पन्न देश भए पनि मागअनुसार गुणस्तरीय र अविच्छिन्न विद्युत् आपूर्ति अझै चुनौतीपूर्ण छ।

एआई डेटा सेन्टरमा एक सेकेन्डका लागि पनि विद्युत् अवरुद्ध हुनुहुँदैन। त्यसका लागि वैकल्पिक ऊर्जा, ब्याकअप प्रणाली, उच्च क्षमताका ट्रान्सफर्मर तथा प्रसारण संरचना आवश्यक पर्छ।

यदि ठूलो डेटा सेन्टर निर्माण गरियो भने त्यसले राष्ट्रिय विद्युत् प्रणालीमा थप दबाब सिर्जना गर्ने सम्भावना रहने विज्ञहरूको भनाइ छ।

चुनौती धेरै भए पनि सम्भावना पनि उत्तिकै ठूलो छ।

यदि नेपालले आफ्नै सुरक्षित, आधुनिक र दिगो डेटा सेन्टर निर्माण गर्न सफल भयो भने विदेशी क्लाउड सेवामाथिको निर्भरता घटाउन सकिन्छ। नेपाली स्टार्टअपहरूले विदेशमा महँगो शुल्क तिरेर कम्प्युटिङ सेवा लिनुपर्ने बाध्यता कम हुनेछ।

विश्वविद्यालय, अनुसन्धान संस्था तथा निजी क्षेत्रले एआई, डेटा विज्ञान, रोबोटिक्स, जैविक सूचना प्रविधि, भाषा प्रविधि तथा साइबर सुरक्षामा अनुसन्धान गर्न सक्ने वातावरण बन्नेछ।

यसले हजारौँ दक्ष जनशक्तिलाई स्वदेशमै रोजगारी दिने, सूचना प्रविधि सेवा निर्यात बढाउने तथा डिजिटल अर्थतन्त्र विस्तार गर्ने आधारसमेत तयार गर्न सक्छ।

सरकारले घोषणा गरेको एआई कम्प्युट केन्द्र नेपालका लागि ऐतिहासिक अवसर बन्न सक्ने सम्भावना छ। तर त्यति नै ठूलो चुनौती पनि यससँग जोडिएको छ।

कानुनी स्पष्टता, साइबर सुरक्षा, डेटा संरक्षण, वातावरणीय अध्ययन, ऊर्जा व्यवस्थापन, वित्तीय स्रोत र दक्ष जनशक्तिको सुनिश्चितताबिना यति ठूलो परियोजना सफल बनाउन कठिन हुने विज्ञहरूको साझा निष्कर्ष छ।

मूल्य घटेपछि भोलिपल्टै किन बन्द भए पेट्रोल पम्प?

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको भोलिपल्टै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा निजी पेट्रोल पम्पहरूले बिक्री बन्द गरेपछि इन्धन आपूर्तिलाई लिएर अन्योल सिर्जना भएको छ।

निगमले भने बजारमा इन्धनको अभाव नभई केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेको जनाएको छ।

बुधबार बिहानदेखि काठमाडौं उपत्यकाका धेरै निजी पेट्रोल पम्पले ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसेर बिक्री वितरण रोकेका छन्। सञ्चालनमा रहेका नेपाल प्रहरीको पेट्रोल पम्प तथा केही सरकारी र निजी पम्पमा भने इन्धन भर्न सवारीसाधनको लामो लाइन लागेको छ। बानेश्वर आसपासका अधिकांश पम्प बन्द देखिएका छन् भने उपत्यकाबाहिरका केही जिल्लामा पनि यस्तै अवस्था देखिएको छ।

नेपाल आयल निगमले मंगलबार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा ३० रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाएको थियो। मूल्य समायोजन भएको केही घण्टामै बजारमा इन्धन अभाव देखिएपछि उपभोक्तामा थप अन्योल बढेको हो।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भने बजारमा इन्धनको कुनै वास्तविक अभाव नरहेको स्पष्ट पारे। उनका अनुसार मूल्य घट्ने जानकारी पाएपछि केही पेट्रोल पम्प सञ्चालकले पुरानै महँगो मूल्यमा खरिद गरेको इन्धन बिक्री गर्न नचाहँदा नयाँ इन्धन लोड नगरी कृत्रिम अभाव सिर्जना गरेका हुन्।

उनले पर्याप्त मात्रामा इन्धन मौज्दात रहेकाले आपूर्तिमा समस्या नरहेको बताए। निगमले सहज रूपमा इन्धन उपलब्ध हुँदाहुँदै पनि लोड नगरी ‘इन्धन छैन’ भन्दै पम्प बन्द गर्ने व्यवसायीमाथि अनुगमन सुरु गरिएको र दोषी भेटिए कारबाही गरिने जनाएको छ।

प्रवक्ता ठाकुरका अनुसार केही पम्पको भण्डारण क्षमता सीमित भएकाले कतै-कतै आपूर्तिमा सामान्य ढिलाइ हुन सक्ने भए पनि समग्र बजारमा पेट्रोलियम पदार्थको अभाव नरहेको निगमको दाबी छ।

बालेन सरकारका तीन महिना : ५८४ कर्मचारी राजीनामा दिन बाध्य

काठमाडौं। वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन भएको तीन महिनामै निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको संख्या उल्लेखनीय रूपमा बढेको छ।

राष्ट्रिय किताबखानाको तथ्याङ्कले सरकारले नयाँ निजामती सेवा ऐन ल्याउने तयारी थालेपछि विशेषगरी वरिष्ठ कर्मचारीहरू स्वेच्छिक रूपमा सेवा छाड्ने क्रम तीव्र भएको देखाएको हो।

सरकारले निजामती प्रशासनको पुनःसंरचना, मन्त्रालय तथा विभागको संख्या घटाउने र कर्मचारी व्यवस्थापन प्रणालीलाई नयाँ ढाँचामा लैजाने तयारी गरिरहेका बेला कर्मचारी प्रशासनभित्र भविष्यप्रतिको अन्योल बढेको देखिन्छ।

विशेषगरी प्रस्तावित ‘३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर’को अवकाश व्यवस्थाले धेरै कर्मचारीलाई अहिले नै राजीनामा दिन प्रेरित गरेको कर्मचारी वृत्तको भनाइ छ।

तीन महिनामै पाँच सयभन्दा बढी कर्मचारीको राजीनामा

राष्ट्रिय किताबखानाका अनुसार २०८३ साल सुरु भएयता हालसम्म ५ सय ८४ जना कर्मचारीको राजीनामा स्वीकृत भइसकेको छ। तीमध्ये बालेन नेतृत्वको सरकार गठनपछिका तीन महिनामै सहसचिव, उपसचिवदेखि विभिन्न तहका कर्मचारीको संख्या उल्लेखनीय रूपमा बढेको छ।

तथ्याङ्कअनुसार हालसम्म ६ जना सहसचिव र १७ जना उपसचिवले सेवा छाडिसकेका छन्। असार महिनामा मात्रै राजीनामाको दर झन् तीव्र भएको छ। असार १ गतेदेखि १५ गतेसम्म मात्रै १ सय ३५ जना कर्मचारीले राजीनामा दिएका छन्।

राष्ट्रिय किताबखानाका अनुसार राजीनामाको संख्या बढेको देखिए पनि त्यसको कारण सम्बन्धित निकायबाट खुलाएर नआउने भएकाले आधिकारिक रूपमा भन्न सकिने अवस्था छैन। यद्यपि कर्मचारी प्रशासनमा नयाँ निजामती सेवा ऐनको तयारीलाई नै यसको मुख्य कारणका रूपमा हेरिएको छ।

किन बढ्दैछ राजीनामा?

सरकारी कर्मचारीहरूको मुख्य चिन्ता प्रस्तावित नयाँ निजामती सेवा ऐनसँग जोडिएको छ।

सरकारले तयार गरिरहेको मस्यौदामा ३० वर्ष सेवा अवधि पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्था राख्ने चर्चा कर्मचारी प्रशासनमा छ। यद्यपि अन्तिम विधेयक अझै सार्वजनिक भएको छैन।

हाल निजामती सेवामा ५८ वर्ष उमेर पुगेपछि मात्रै अवकाश हुन्छ भने सेवा अवधिको कुनै सीमा छैन। त्यसैले धेरै कर्मचारी ३० वर्षभन्दा बढी सेवा गरेर अतिरिक्त सेवा अवधिका आधारमा पेन्सन तथा अन्य सुविधा प्राप्त गरिरहेका छन्।

तर नयाँ व्यवस्थाले ३० वर्षभन्दा बढी सेवा अवधिलाई पेन्सन गणनामा समावेश नगर्न सक्ने आशंकाले विशेषगरी लामो समयदेखि सेवामा रहेका कर्मचारीहरू सबैभन्दा बढी प्रभावित हुने देखिन्छ।

कर्मचारी वृत्तका अनुसार अहिले नै राजीनामा दिए हालको कानुनी व्यवस्थाअनुसार सम्पूर्ण सेवा अवधि गणना गरेर पेन्सन प्राप्त हुन्छ।

तर नयाँ ऐन लागू भएपछि ३० वर्षभन्दा बढी सेवा अवधि गणना नहुने व्यवस्था भए पेन्सन तथा अन्य अवकाश सुविधामा उल्लेख्य कमी आउन सक्ने उनीहरूको बुझाइ छ।

अहिले २०४९ सालअघि सेवा प्रवेश गरेका कर्मचारीका हकमा ५८ वर्षमा अवकाश भए पनि ६० वर्षलाई आधार मानेर पेन्सन गणना हुने व्यवस्था छ। नयाँ कानुनमा ५५ वा ५८ वर्षलाई मात्रै आधार बनाइए सेवासुविधामा थप असर पर्ने उनीहरूको चिन्ता छ।

कर्मचारी प्रशासनभित्र अर्को प्रवृत्ति पनि देखिएको छ।

सरकारले हालै कर्मचारीको तलब वृद्धि गरेकाले साउनदेखि बढेको तलबका आधारमा पेन्सन गणना हुने अपेक्षामा धेरै कर्मचारी तत्काल राजीनामा नदिई साउन कुर्दै बसेको बताइन्छ।

यसका कारण साउनपछि राजीनामा दिने कर्मचारीको संख्या अझ बढ्न सक्ने आकलन कर्मचारी प्रशासनमै भइरहेको छ।

राजीनामा बढ्नुको अर्को कारण सरकारको प्रशासनिक पुनःसंरचना पनि मानिएको छ।

वर्तमान सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारेको छ। यससँगै विभाग, कार्यालय तथा सार्वजनिक निकायहरूको पुनःसंरचना र केही संस्था खारेज गर्ने तयारी अघि बढिरहेको छ।

यसले जिम्मेवारी, सरुवा, पदस्थापन तथा भविष्यबारे कर्मचारीमा अन्योल बढाएको कर्मचारी वृत्तको भनाइ छ। विशेषगरी वरिष्ठ तहका कर्मचारीहरू सरुवा प्रणाली र भावी जिम्मेवारीबारे असन्तुष्ट देखिएका छन्।

सरकारले कर्मचारीका लागि केही आकर्षक सुविधा पनि विस्तार गरेको छ। तलब वृद्धि, सातामा दुई दिन बिदा, महिनामा दुई पटक तलब वितरण तथा आयकरसम्बन्धी केही सहुलियतको व्यवस्था गरिएको छ।

तर तत्काल प्राप्त हुने सुविधाभन्दा अवकाशपछिको सेवा सुरक्षा, पेन्सन र दीर्घकालीन लाभमा पर्ने प्रभावलाई कर्मचारीहरूले बढी महत्व दिएका कारण राजीनामा बढेको विश्लेषण गरिएको छ।

सरकारले भने निजामती प्रशासनलाई चुस्त, परिणाममुखी र उत्तरदायी बनाउन नयाँ निजामती सेवा ऐन आवश्यक रहेको बताउँदै आएको छ।

सरकारको धारणा अनुसार हालको निजामती संरचनालाई समयअनुकूल बनाउन उमेर, सेवा अवधि, कार्यसम्पादन मूल्याङ्कन, सरुवा प्रणाली तथा डिजिटल प्रशासनलाई नयाँ ढाँचामा लैजान खोजिएको हो।

यद्यपि कर्मचारी संगठनहरूले पर्याप्त छलफल र संक्रमणकालीन व्यवस्था बिना नयाँ ऐन लागू गरिए प्रशासनमा ठूलो असर पर्ने चेतावनी दिइरहेका छन्।

ऐन सार्वजनिक नहुँदै बढ्यो दबाब

नयाँ निजामती सेवा ऐनको अन्तिम मस्यौदा अझै सार्वजनिक भएको छैन। सरकारले पनि ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेरसम्बन्धी व्यवस्था अन्तिम निर्णय भइनसकेको जनाएको छ।

तर विधेयक संसद्मा पुग्नुअघि नै सम्भावित व्यवस्थालाई आधार मानेर कर्मचारीहरूले राजीनामा दिन थालेपछि सरकारको प्रशासनिक सुधार योजनामाथि दबाब बढेको छ।

यदि ऐनमा कर्मचारीहरूले आशंका गरेअनुसारको व्यवस्था समेटियो भने साउनपछि स्वेच्छिक अवकाश लिने वरिष्ठ कर्मचारीहरूको संख्या अझ बढ्न सक्ने देखिन्छ।

त्यसले प्रशासनमा अनुभवी जनशक्तिको कमी ल्याउने जोखिम त रहनेछ नै, सरकारले अघि सारेको निजामती सुधारको प्रभावकारितामाथि पनि प्रत्यक्ष असर पर्न सक्ने विश्लेषण गरिएको छ।

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

काठमाडौं । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्अन्तर्गत विश्वव्यापी आवधिक समीक्षा (युनिभर्सल पिरियडिक रिभ्यु–युपीआर) को चौथो चक्रअन्तर्गत नेपालको प्रतिवेदन पारित भएको छ ।

सन् २०२६ जुन ३० मा जेनेभामा आयोजित मानव अधिकार परिषद्को ६२औँ सत्रले नेपालको प्रतिवेदन औपचारिक रूपमा अनुमोदन गरेको हो ।

कार्यक्रममा नेपाल सरकारका तर्फबाट संयुक्त राष्ट्रसंघ जेनेभास्थित स्थायी प्रतिनिधि राजदूत रामप्रसाद सुवेदी, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मीहिर ठाकुर, विभिन्न सदस्य राष्ट्रका प्रतिनिधि, संयुक्त राष्ट्रसंघका निकाय तथा नागरिक समाजका प्रतिनिधिहरूले मन्तव्य राखेका थिए ।

कार्यक्रममा नागरिक समाजका तर्फबाट महिला, कानून र विकास मञ्च (एफडब्लुएलडी) र इक्वालिटी नाउको प्रतिनिधिको रुपमा अधिवक्ता सबिन श्रेष्ठले संयुक्त मौखिक वक्तव्य प्रस्तुत गर्दै नेपालको मानवअधिकार कानुनमा सुधार गर्नुपर्ने तीन महत्वपूर्ण विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए ।

जबरजस्ती करणीको परिभाषा फराकिलो बनाउन माग

श्रेष्ठको वक्तव्यमा सबैभन्दा पहिलो विषयका रूपमा मुलुकी अपराध संहितामा रहेको जबरजस्ती करणीको कानुनी परिभाषा संशोधन गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो । हालको कानुनी व्यवस्थाले सबै प्रकारका असहमतिपूर्ण यौनजन्य प्रवेशलाई पूर्ण रूपमा समेट्न नसकेको भन्दै पीडितको सहमतिलाई केन्द्रमा राखेर जबरजस्ती करणीको परिभाषा विस्तार गर्न आग्रह गरिएको थियो ।

नागरिक समाजले अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डअनुसार कानुन संशोधन गरी सबै प्रकारका असहमतिपूर्ण यौन सम्पर्कलाई जबरजस्ती करणीको रूपमा कानुनी मान्यता दिनुपर्नेमा जोड दिएको छ ।

हदम्याद हटाउन अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

दोस्रो प्रमुख विषयका रूपमा जबरजस्ती करणीसम्बन्धी उजुरी दर्ताको हदम्यादलाई पूर्ण रूपमा हटाउन माग गरिएको थियो । सामाजिक लाञ्छना, धम्की, मानसिक आघात तथा न्यायमा पहुँचको अभावका कारण धेरै पीडितले समयमै उजुरी दिन नसक्ने अवस्था रहेको नागरिक समाजको भनाइ छ ।

विशेषगरी द्वन्द्वकालीन यौन हिंसाका पीडितहरू हदम्यादका कारण न्यायबाट वञ्चित भइरहेको उल्लेख गर्दै यस्तो कानुनी व्यवस्था खारेज गर्न आग्रह गरिएको हो ।

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलालाई कानुनी संरक्षणको माग

वक्तव्यमा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१ को प्रभावकारितामाथि पनि प्रश्न उठाइएको छ । उक्त ऐन औपचारिक क्षेत्रमा मात्र प्रभावकारी रूपमा लागू भएकाले घरेलु श्रमिक, कृषि मजदुर, निर्माण क्षेत्रमा कार्यरत महिला तथा अन्य अनौपचारिक क्षेत्रका श्रमिकहरू कानुनी संरक्षणबाट वञ्चित रहेको नागरिक समाजले जनाएको छ । यस कारण ऐनलाई संशोधन गरी सबै श्रमिकसम्म समान रूपमा लागू गर्न माग गरिएको छ ।

नेपालको चौथो चक्रअन्तर्गतको युपीआर समीक्षा सन् २०२६ जनवरी २१ मा सम्पन्न भएको थियो । त्यसपछि फेब्रुअरी ३ मा युपीआर कार्यसमूहले नेपाललाई मानवअधिकारका विभिन्न क्षेत्रमा सुधार गर्न २८४ वटा सिफारिस प्रदान गरेको थियो ।

यी सिफारिसहरूमा महिला, कानून र विकास मञ्चले सन् २०२५ जुलाईमा संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्समक्ष पेश गरेका चारवटा वैकल्पिक प्रतिवेदनका महत्वपूर्ण विषयहरू पनि समावेश भएका छन् । ती प्रतिवेदनहरू यौन तथा प्रजनन स्वास्थ्य अधिकार, बाल अधिकार, महिला तथा बालिकामाथि हुने यौन हिंसा तथा अपाङ्गता भएका व्यक्तिको अधिकारमा केन्द्रित थिए ।

नेपाललाई विभिन्न सदस्य राष्ट्रहरूले मानवअधिकार सुधारका लागि महत्वपूर्ण सुझाव दिएका छन् । ब्राजिल, गाम्बिया र आयरल्यान्डले बालविवाहसम्बन्धी कानुन संशोधन गरी बालविवाहमा संलग्न बालबालिकालाई अपराधी होइन, पीडितका रूपमा स्वीकार गर्न तथा उनीहरूको पुनःस्थापनालाई प्राथमिकता दिन सिफारिस गरेका छन् ।

त्यस्तै आइस्ल्यान्ड, फ्रान्स र जर्मनीले गर्भपतनको थप निरअपराधीकरण, सुरक्षित यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितता तथा प्रसूति हिंसालाई सम्बोधन गर्ने कानुनी सुधार गर्न सुझाव दिएका छन् ।

बुल्गेरियाले अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न, राष्ट्रिय अपाङ्गता कोषलाई प्रभावकारी बनाउन तथा पुनःस्थापना सेवाको विस्तार गर्न सिफारिस गरेको छ ।

नेपालले प्राप्त २८४ सिफारिसमध्ये २२५ वटा औपचारिक रूपमा स्वीकार गरेको जनाएको छ । त्यस्तै ५७ वटा सिफारिसलाई ‘नोट’ गरेको छ भने दुई वटा सिफारिसमा टिप्पणी प्रस्तुत गरेको छ । युपीआर प्रक्रियाअन्तर्गत स्वीकार गरिएका सिफारिसहरू आगामी वर्षहरूमा कार्यान्वयन गर्नु नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता हुनेछ ।

मानवअधिकारको संरक्षण, कानुनी सुधार र न्यायमा पहुँच सुनिश्चित गर्न अब सरकारले ती सिफारिसलाई व्यवहारमा उतार्ने चुनौती सामना गर्नुपर्ने देखिएको छ ।

मन्त्री,सांसद र रास्वपा नेताहरूको गाडीमै कालो सिसा

काठमाडौं। प्रहरीले सवारीसाधनमा जडान गरिएका कालो सिसा हटाउने अभियान देशभर तीव्र बनाइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित केही नेताहरूले प्रयोग गर्ने गाडीमा पनि कालो सिसा रहेको पाइएको छ।

प्रहरी प्रधान कार्यालयले मंगलबार सातै प्रदेशका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलाई सार्वजनिक तथा निजी सवारीसाधनमा जडान गरिएका कालो सिसा हटाउन सर्कुलर जारी गरेको थियो। सोही अभियानका बीच रास्वपाका सभापति, केही मन्त्री, सांसद तथा कार्यकर्ताले प्रयोग गर्ने सवारीमा कालो सिसा प्रयोग भएको देखिएको हो।

यसअघि असार १५ गते उपत्यका ट्राफिक प्रहरी कार्यालयले तत्कालीन गृहमन्त्री सुधन गुरुङ र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले प्रयोग गरेको गाडीमा टाँसिएको कालो सिसाको स्टिकर हटाएको थियो।

ट्राफिक प्रहरीले असार १४ गतेदेखि काठमाडौं उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीसाधनमा जडान गरिएका कालो सिसाका स्टिकर हटाउने अभियान सुरु गरेको हो। पहिलो चरणमा स्टिकर हटाउने कार्य भइरहेको छ भने कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारीको सिसा परिवर्तन गर्ने विषयमा गाडी बिक्रेता कम्पनीहरूसँग पनि छलफल भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कालो सिसाले सवारीभित्रको गतिविधि बाहिरबाट देख्न कठिन हुने भएकाले सुरक्षा, अपराध नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो अभियान सञ्चालन गरिएको हो।

तस्वीरहरू:

ट्रम्पले क्रिप्टोबाट एक वर्षमै कमाए एक अर्ब डलर

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोकरेन्सी कारोबारबाट एक वर्षमै करिब एक अर्ब अमेरिकी डलर आम्दानी गरेको विवरण सार्वजनिक गरेका छन्।

अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने आर्थिक विवरणमा उनले सन् २०२५ को आम्दानीसम्बन्धी जानकारी दिएका हुन्।

ट्रम्पले ९२७ पृष्ठ लामो आर्थिक प्रतिवेदनमा आफ्नो सम्पत्ति, व्यवसाय र विभिन्न स्रोतबाट भएको आम्दानी उल्लेख गरेका छन्। त्यसअनुसार सबैभन्दा ठूलो आम्दानी क्रिप्टोकरेन्सी कारोबारबाट भएको देखिएको छ।

ह्वाइट हाउसकी प्रेस सचिव एन्ना केलीले ट्रम्पको क्रिप्टो नीतिको प्रशंसा गर्दै अमेरिकालाई विश्वको ‘क्रिप्टो राजधानी’ बनाउने दिशामा उनले नेतृत्व गरेको बताएकी छन्। ट्रम्प वा उनका परिवारका सदस्यले कुनै पनि निर्णयमा स्वार्थ बाझिने अवस्था सिर्जना नगरेको उनको दाबी छ।

प्रतिवेदनअनुसार ट्रम्पले आफ्नै नाममा बिक्री हुने बाइबल, घडी, अत्तर र गितारबाट प्राप्त रोयल्टीमार्फत करिब ४७ लाख अमेरिकी डलर आम्दानी गरेका छन्।

त्यस्तै, फ्लोरिडास्थित उनको ‘मार–ए–लागो’ रिसोर्टबाट ७ करोड ७० लाख अमेरिकी डलर र त्यही राज्यमा रहेको गल्फ कोर्सबाट १२ करोड २० लाख अमेरिकी डलर आम्दानी भएको उल्लेख छ।

यता, प्रथम महिला मेलानिया ट्रम्पले पनि गत वर्ष करिब १ करोड ७ लाख अमेरिकी डलर आम्दानी गरेकी छन्।

उनको जीवनमा आधारित वृत्तचित्रको लाइसेन्स उपलब्ध गराएबापत उक्त रकम प्राप्त भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

उता ४ सचिव अभाव, यता ६ सचिवलाई जिम्मेवारी छैन

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य मंगलबार रातिदेखि अनिवार्य अवकाशमा गएपछि सचिवको दरबन्दी रहेका चार सरकारी निकाय सचिवविहीन भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरणअनुसार हाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, नेपाल ट्रस्टको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय र न्याय परिषद् सचिवालयमा सचिवको पद रिक्त रहेको छ।

यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भने ६ सचिवलाई कुनै जिम्मेवारी नदिई अतिरिक्त समूह (जगेडा) मा राखिएको छ। गत जेठ २२ गते बसेको मन्त्रिपरिषद् बैठकले डा. गोविन्द शर्मा, डा. डिल्लीराम शर्मा, लोकनाथ पौड्याल, डा. कृष्णहरि पुष्कर, हरिप्रसाद मैनाली र डुण्डुराज घिमिरेलाई जगेडामा राख्ने निर्णय गरेको थियो।

जगेडामा रहेका सचिवमध्ये डुण्डुराज घिमिरे भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बनमा छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कर छुटसम्बन्धी अनियमिततामा संलग्न रहेको आरोपमा आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

बाँकी पाँच सचिवलाई भने हालसम्म कुनै मन्त्रालय वा निकायको जिम्मेवारी नदिइएको अवस्था छ। एकातिर चार महत्वपूर्ण सरकारी निकाय सचिवविहीन छन् भने अर्कोतिर प्रधानमन्त्री कार्यालयमै सचिवहरू जिम्मेवारीविहीन रहनुले प्रशासनिक व्यवस्थापनमाथि प्रश्न उठ्न थालेको छ।

चितवनमा बालेन बसेको रिसोर्ट रूमको नामै फेरियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बसेको चितवनको एक रिसोर्टले उनले प्रयोग गरेको कोठालाई स्थायी रूपमा ‘प्रधानमन्त्री कक्ष’ नाम दिएको छ।

चितवनको कालिका नगरपालिका-९, शक्तिखोरस्थित लटौली सेन्चुरी रिसोर्टले प्रधानमन्त्री शाह सपरिवार बसेको भिल्ला ब्लकको कोठामा ‘‘प्राइम मिनिस्टर रुम’ लेखिएको विशेष नामफलक राखेको हो।

रिसोर्ट व्यवस्थापनले देशको कार्यकारी प्रमुखको पहिलो बसाइलाई स्मरणीय बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको जनाएको छ।

रिसोर्टका व्यवस्थापकका अनुसार नामकरणपछि उक्त कोठा आगन्तुकहरूको विशेष आकर्षण बनेको छ। विशेषगरी प्रधानमन्त्री बालेनका समर्थक तथा अन्य पर्यटकहरूले सोही कोठामा बस्न अग्रिम बुकिङ गर्न थालेका छन्। कतिपय आगन्तुकले कोठाबाहिर तस्बिर खिच्ने क्रमसमेत बढेको रिसोर्टले जनाएको छ।

प्रधानमन्त्रीको बसाइसँगै रिसोर्ट सामाजिक सञ्जालमा पनि चर्चाको विषय बनेको छ। समर्थकहरूले यसलाई बालेनप्रतिको जनआस्था र लोकप्रियताको प्रतीकका रूपमा व्याख्या गरेका छन् भने केहीले रिसोर्टले आफ्नो प्रचार-प्रसार र ब्रान्ड प्रवर्द्धनका लागि अपनाएको व्यावसायिक रणनीति भएको टिप्पणी गरेका छन्।

महाधिवेशन अवधिभर प्रधानमन्त्री र उनको सचिवालयको सुरक्षाका लागि रिसोर्टका १६ भन्दा बढी कोठा चार दिनसम्म आरक्षित गरिएको थियो।

सोही अवधिमा प्रधानमन्त्री शाहले चितवनका स्थानीय नागरिक, उद्यमी तथा विभिन्न समूहसँग भेटघाट र अनौपचारिक संवादसमेत गरेका थिए।

बँदेल धपाउन श्रीमानले थापेको पासोमा परेर श्रीमतीको मृत्यु

काठमाडौं। गुल्मीमा जङ्गली जनावर धपाउन बारीमा थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ।

घटनापछि प्रहरीले मृतकका श्रीमान्लाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार धुर्कोट गाउँपालिका-५ मन्टारीकी ६० वर्षीया हुमकला भण्डारी गएराति करिब १:३० बजे विद्युतीय पासोमा परेर गम्भीर घाइते भएकी थिइन्।

उपचारका लागि तत्काल गुल्मी अस्पताल, तम्घास पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार मृतकका श्रीमान् भेषराज भण्डारीले आफ्नै घरबाट करिब १५० मिटर टाढा रहेको बारीमा बँदेल नियन्त्रण गर्ने उद्देश्यले विद्युत्को पोलबाट करेन्ट प्रवाह गरी विद्युतीय पासो थापेका थिए। सोही पासोमा परेपछि हुमकला भण्डारीको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले भेषराज भण्डारीलाई नियन्त्रणमा लिएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक प्रमाण संकलन गर्नुका साथै घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ग्रामीण क्षेत्रमा बँदेल तथा अन्य जङ्गली जनावरबाट बाली जोगाउन अवैध रूपमा विद्युतीय पासो थाप्ने प्रवृत्ति देखिँदै आएको छ।

यस्ता पासोले मानव जीवनसमेत जोखिममा पार्ने भएकाले सुरक्षा निकायले यसअघि पनि यस्ता कार्य नगर्न पटक-पटक आग्रह गर्दै आएको छ।

श्रावणदेखि सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग [फोटो-फिचर]

काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा सुरुङमार्ग आगामी श्रावण महिनादेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ।

सञ्चालनअघि गरिने प्राविधिक परीक्षणहरू तीव्र पारिएको छ भने सुरुङभित्र प्रयोग हुने सञ्चालन तथा मर्मतसम्भारका सवारीसाधनको परीक्षण सफलतापूर्वक सम्पन्न भएको हो।

परियोजनाका अनुसार परीक्षणका क्रममा सुरुङभित्र नियमित निरीक्षण, सरसफाइ, मर्मतसम्भार, आपत्कालीन उद्धार तथा दुर्घटना व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन र उपकरणहरूको कार्यसम्पादन मूल्याङ्कन गरिएको थियो। साथै भेन्टिलेसन प्रणाली, विद्युत् आपूर्ति, अग्नि नियन्त्रण, सञ्चार प्रणाली, सिसिटिभी निगरानी र ट्राफिक व्यवस्थापन प्रणालीको अन्तिम परीक्षण पनि जारी छ।

नागढुंगा सुरुङमार्गको निर्माण २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि सुरु भएको थियो। जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको यो परियोजनाको मुख्य निर्माण जिम्मेवारी जापानी कम्पनी हाज्मा–आन्दो कर्पोरेशनले सम्हालेको हो।

करिब २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा अधिकांश रकम जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋणमार्फत व्यवस्थापन गरिएको छ। मुख्य सुरुङको लम्बाइ करिब २.६८ किलोमिटर रहेको छ भने आपत्कालीन उद्धारका लागि समानान्तर उद्धार सुरुङ पनि निर्माण गरिएको छ। परियोजनाअन्तर्गत पहुँच सडक, पुल, फ्लाइओभर तथा अन्य सहायक संरचनाहरू पनि तयार भइसकेका छन्।

निर्माण कार्य कोभिड–१९ महामारी, जग्गा अधिग्रहण, प्राविधिक जटिलता तथा अन्य व्यवस्थापकीय कारणले अपेक्षाभन्दा केही ढिला भए पनि अहिले अधिकांश काम सम्पन्न भइसकेको छ। सञ्चालनअघि अन्तिम सुरक्षा परीक्षण र प्राविधिक प्रमाणीकरणको काम भइरहेको छ।

सुरुङमार्ग सञ्चालनमा आएपछि सुरुवाती चरणमा तोकिएका मापदण्ड पूरा गर्ने सवारीसाधनलाई मात्रै प्रवेश दिइनेछ। सुरुङभित्र गति सीमा, लेन अनुशासन, सवारीबीचको दूरी तथा अन्य सुरक्षा मापदण्डको कडाइका साथ पालना गराइनेछ। सम्पूर्ण सञ्चालन तथा निगरानी अत्याधुनिक नियन्त्रण केन्द्रबाट हुने व्यवस्था मिलाइएको छ।

नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा प्रवेश गर्ने र बाहिरिने सवारीसाधनको आवागमन थप सहज हुने अपेक्षा छ।

विशेषगरी नागढुंगा सडकखण्डमा वर्षौंदेखि हुने ट्राफिक जाम घट्नुका साथै यात्राको समय, इन्धन खपत र ढुवानी लागतमा उल्लेखनीय कमी आउने विश्वास गरिएको छ।

अन्तत: यसरी अन्त्य भयो राधा-कृष्णको प्रेमकथा

भगवान श्रीकृष्ण र राधाको प्रेम हिन्दू परम्परामा आध्यात्मिक प्रेम, समर्पण र भक्तिको सर्वोच्च प्रतीकका रूपमा हेर्ने गरिन्छ । उनीहरू वैवाहिक बन्धनमा नबाँधिए पनि प्रेम र भक्ति सम्बन्धी चर्चा हुँदा राधा-कृष्णको नाम सधैं सँगै लिइन्छ।

विभिन्न पौराणिक ग्रन्थ तथा लोककथाहरूमा राधा-कृष्णका अनेक प्रसंग पाइन्छन्। विशेषगरी ‘गर्ग संहिता’ लगायतका ग्रन्थमा उनीहरूको प्रेम, भेटघाट र लीलाका प्रसंग विस्तृत रूपमा वर्णन गरिएको छ। यिनै कथाले चलचित्र, टेलिभिजन शृंखला र धार्मिक प्रस्तुतिहरूमा पनि विशेष स्थान पाएका छन्।

पौराणिक कथाअनुसार भगवान श्रीकृष्णले राधालाई पुनः फर्केर आउने वाचा गर्दै वृन्दावन छोडेर मथुराको यात्रा गरेका थिए। त्यहाँ पुगेर उनले आफ्ना मामा कंसको वध गरे र पछि द्वारका गए। कृष्ण वृन्दावन छोडेपछि राधासँगको प्रत्यक्ष भेटघाटका प्रसंग क्रमशः कम हुँदै गएको विभिन्न कथाहरूमा उल्लेख छ।

राधाको विवाहसम्बन्धी कथामा भने विभिन्न पौराणिक स्रोतमा फरक-फरक विवरण पाइन्छ। ‘ब्रह्मवैवर्त पुराण’को प्रकृति खण्ड (अध्याय ४९) अनुसार राधाका माता–पिताले उनको विवाह रायण नामका एक वैश्यसँग गरिदिएको उल्लेख गरिएको छ। यद्यपि, सबै धार्मिक परम्परा वा ग्रन्थमा यही विवरण समान रूपमा स्वीकार गरिएको छैन।

लोकप्रचलित पौराणिक कथाअनुसार जीवनको उत्तरार्धमा राधाले कृष्णलाई भेट्न द्वारका जाने निर्णय गर्छिन्। त्यहाँ उनी कृष्णको दरबारमा बस्दै समय-समयमा भगवानसँग भेट्ने अवसर पाएको कथन पाइन्छ।

केही समयपछि राधाले द्वारका छोडेकी र त्यसपछि एक दिन श्रीकृष्ण पुनः उनको सामु प्रकट भएको वर्णन गरिन्छ। कृष्णले राधासँग अन्तिम इच्छा के छ भनेर सोध्दा उनले कृष्णको दिव्य बाँसुरी सुन्ने चाहना व्यक्त गरिन्।

पौराणिक विश्वासअनुसार भगवान श्रीकृष्णले राधाका लागि आफ्नो दिव्य बाँसुरी बजाए। त्यसको मधुर धुन सुन्दै राधा श्रीकृष्णमै विलीन भइन् भन्ने धार्मिक मान्यता प्रचलित छ। यस घटनालाई भौतिक प्रेमको अन्त्य नभई आत्मा र परमात्माबीचको पूर्ण एकत्वको प्रतीकका रूपमा व्याख्या गर्ने गरिन्छ।

राधा–कृष्णको प्रेमकथा ऐतिहासिक घटनाभन्दा बढी धार्मिक, दार्शनिक र आध्यात्मिक परम्परासँग जोडिएको विषय मानिन्छ।

यद्यपि उनीहरूको जीवनका विभिन्न प्रसंगबारे पुराण, सम्प्रदाय र परम्पराअनुसार फरक-फरक व्याख्या पाइन्छ।

जर्मन दूतावासको स्पष्टीकरण – ‘नेपाललाई कुनै चेतावनी दिइएको छैन’

काठमाडौं। राहदानी खरिद प्रकरणसँग जोडिएका विषयमा सार्वजनिक भएका केही समाचारप्रति जर्मनीले आधिकारिक स्पष्टीकरण दिएको छ।

काठमाडौंस्थित जर्मन दूतावासले बुधबार सूचना जारी गर्दै उक्त प्रकरणका सम्भावित परिणाम वा कारबाहीबारे नेपाललाई कुनै चेतावनी नदिएको स्पष्ट पारेको हो।

दूतावासका अनुसार राहदानी खरिद प्रकरणबारे सार्वजनिक भएका केही तथ्य गलत वा भ्रामक छन्। त्यसैले वास्तविक अवस्था स्पष्ट पार्न तीन बुँदे जानकारी सार्वजनिक गरिएको जनाएको छ।

स्पष्टीकरणमा बर्लिनस्थित नेपाली कार्यवाहक राजदूतलाई जर्मन संघीय विदेश मन्त्रालयमा छलफलका लागि आमन्त्रण गरिएको उल्लेख छ। दूतावासले यो कूटनीतिक छलफलका लागि गरिएको निमन्त्रणा भएको र स्पष्टीकरण माग्न बोलाइएको भन्ने दाबी सही नभएको जनाएको छ।

जर्मनीले कूटनीतिक अभ्यासमा ‘छलफलका लागि आमन्त्रण’ र ‘स्पष्टीकरण माग्दै बोलाउनु’ दुई फरक प्रक्रिया भएको उल्लेख गर्दै ती विषयलाई एकै रूपमा प्रस्तुत गर्नु तथ्यगत रूपमा गलत हुने जनाएको छ।

युक्रेनबाट युद्धकौशल मात्र सिक्दै छैन बेलायत

काठमाडौं । बेलायत सरकारले आफ्नो रक्षा नीतिमा विगत धेरै दशकयताकै सबैभन्दा ठूलो परिवर्तन गर्ने तयारी गरेको छ।

आधुनिक युद्धको स्वरूप तीव्र गतिमा बदलिँदै गएको निष्कर्ष निकाल्दै सरकारले परम्परागत सैन्य संरचनाभन्दा अत्याधुनिक ड्रोन, कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित हतियार प्रणाली तथा मानवरहित युद्ध उपकरणमा केन्द्रित नयाँ रक्षा रणनीति सार्वजनिक गर्ने भएको हो।

बेलायती रक्षा मन्त्रालयले तयार पारेको करिब ८० पृष्ठ लामो रणनीतिक दस्तावेज संसद्मा प्रस्तुत गर्ने तयारी भइरहेको छ। उक्त योजनाले युक्रेन–रूस युद्धबाट प्राप्त सैन्य अनुभवलाई आधार मानेर भविष्यका युद्धहरूमा कम लागतमा उच्च प्रभाव पार्न सक्ने प्रविधिलाई प्राथमिकतामा राखेको जनाएको छ।

मन्त्रालयका अनुसार आधुनिक युद्धमा महँगा ट्याङ्क, युद्धपोत र लडाकु विमानभन्दा साना, सस्ता तर अत्यन्त प्रभावकारी ड्रोनहरूले निर्णायक भूमिका खेल्न थालेकाले बेलायतले पनि आफ्नो सैन्य संरचनालाई सोहीअनुसार पुनः व्यवस्थित गर्न लागेको हो।

बेलायतको नयाँ रणनीतिको मुख्य आधार युक्रेन युद्ध बनेको छ। युक्रेनले रूसविरुद्ध हजारौँ कम लागतका आक्रमणकारी तथा निगरानी ड्रोन प्रयोग गर्दै रूसी ट्याङ्क, युद्धपोत, हवाई सुरक्षा प्रणाली र सैनिक अड्डामा उल्लेखनीय क्षति पुर्‍याएको अनुभवलाई बेलायतले भविष्यको युद्धको नमुनाका रूपमा लिएको छ।

रक्षा मन्त्रालयका अनुसार आगामी वर्षहरूमा मानव सैनिकको जोखिम घटाउँदै कृत्रिम बुद्धिमत्ता, स्वचालित प्रणाली र मानवरहित सैन्य उपकरणको प्रयोग उल्लेखनीय रूपमा विस्तार गरिनेछ। यसबाट युद्ध सञ्चालन थप छिटो, प्रभावकारी र कम खर्चिलो हुने सरकारको विश्वास छ।

नवनियुक्त रक्षामन्त्री ड्यान जार्भिसले लामो समयदेखि रोकिएको रक्षा आधुनिकीकरण कार्यक्रम अघि बढाउन थप १.५ अर्ब पाउन्ड बजेट सुनिश्चित गरेका छन्। यो रकम विशेषगरी ड्रोन विकास, स्वचालित हतियार प्रणाली, साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्तामा आधारित रक्षा प्रविधि तथा नयाँ सैन्य उपकरण खरिदमा खर्च गरिनेछ।

सरकारले रूस र इरानबाट बढ्दो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै भविष्यका सम्भावित द्वन्द्वका लागि बेलायतलाई अझ सक्षम बनाउने उद्देश्यले यो लगानी गरिएको जनाएको छ।

यसअघि रक्षा मन्त्रालयमा करिब १८ अर्ब पाउन्डको वित्तीय अभाव रहेको विषयलाई लिएर सरकारभित्र विवाद चर्किएको थियो। आवश्यक स्रोत सुनिश्चित गर्न नसकिएको भन्दै तत्कालीन रक्षा सचिव जोन हिलीले पदसमेत छाडेका थिए। त्यस घटनाले नेटोभित्र बेलायतको दीर्घकालीन रक्षा प्रतिबद्धतामाथि समेत प्रश्न उठाएको थियो।

तर रक्षामन्त्री जार्भिसले अर्थमन्त्री रेचल रिभ्ससँग सहमति जुटाएर अतिरिक्त बजेट सुनिश्चित गरेपछि रक्षा मन्त्रालयको अनुमानित घाटा १८ अर्ब पाउन्डबाट घटेर करिब ३ अर्ब पाउन्डमा झरेको सरकारी स्रोतले जनाएको छ। यससँगै करिब १५ अर्ब पाउन्ड बराबरको वित्तीय स्रोत व्यवस्थापन भएको बताइएको छ।

सरकारले आगामी चार वर्षका लागि ड्रोन खरिद, अनुसन्धान तथा विकासमा छुट्याइएको बजेट ४ अर्ब पाउन्डबाट बढाएर ५ अर्ब पाउन्ड पुर्‍याएको छ। यो रकम विभिन्न प्रकारका निगरानी ड्रोन, आक्रमणकारी ड्रोन, समुद्री ड्रोन तथा स्वचालित रक्षा प्रणाली विकासमा खर्च हुनेछ।

रक्षा मन्त्रालयका अनुसार बेलायतले आफ्नै स्वदेशी रक्षा उद्योगलाई समेत यस योजनामा प्राथमिकता दिनेछ। यसले नयाँ प्रविधिको विकाससँगै हजारौँ दक्ष जनशक्ति आवश्यक पर्ने भएकाले रोजगारी सिर्जनामा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

नयाँ रणनीतिअन्तर्गत रोयल मरिन कमान्डोका लागि मानवरहित स्पीडबोट खरिद गरिनेछ। यी समुद्री ड्रोनहरूले जोखिमपूर्ण क्षेत्रमा सैनिकको प्रत्यक्ष उपस्थितिविना निगरानी, गस्ती तथा विशेष सैन्य अभियान सञ्चालन गर्न सक्नेछन्।

सरकारी योजनाअनुसार अमेरिका र इरानबीच दीर्घकालीन शान्ति कायम भएमा यिनलाई होर्मुज जलडमरूमध्य क्षेत्रमा समुद्री सुरक्षाका लागि परिचालन गरिनेछ। विश्वको महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने होर्मुज क्षेत्रमा सम्भावित सुरक्षा चुनौतीको निगरानी गर्न यी उपकरण प्रभावकारी हुने विश्वास गरिएको छ।

रोयल नेभीका लागि ६ वटा नयाँ हाइब्रिड हवाई रक्षा फ्रिगेट निर्माण गर्ने योजना पनि सार्वजनिक गरिएको छ। यी आधुनिक युद्धपोतले हावा, समुद्र र समुद्रमुनि सञ्चालन हुने विभिन्न मानवरहित प्रणालीसँग एकीकृत रूपमा काम गर्न सक्नेछन्।

रक्षा मन्त्रालयका अनुसार सन् २०३० को दशकको मध्यसम्ममा यी युद्धपोतले हाल सञ्चालनमा रहेका ‘टाइप–४५’ डिस्ट्रोयरलाई प्रतिस्थापन गर्नेछन्। नयाँ फ्रिगेटहरूमा मिसाइल प्रतिरक्षा, साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता तथा ड्रोन नियन्त्रण प्रणाली जडान गरिनेछ।

रक्षा क्षेत्रमा ठूलो लगानी गर्न सरकारले अन्य मन्त्रालयहरूको पुँजीगत बजेट कम्तीमा १ प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ। यस निर्णयलाई लिएर ह्वाइटहलभित्र मतभेद देखिए पनि सरकारले राष्ट्रिय सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर यस्तो कदम चालिएको जनाएको छ।

निवर्तमान प्रधानमन्त्री कियर स्टारमरले रक्षा उद्योगसँग सम्बन्धित कार्यक्रममा नयाँ योजनाको औपचारिक घोषणा गर्दै यसले बेलायतको राष्ट्रिय सुरक्षा मात्र नभई आर्थिक विकास, औद्योगिक उत्पादन र रोजगारीमा समेत ठूलो योगदान पुर्‍याउने बताएका छन्।

उनले सन् २०३५ सम्म बेलायतको रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३.५ प्रतिशत पुर्‍याउने लक्ष्य सार्वजनिक गरेका छन्। हाल रक्षा खर्च करिब २.६ प्रतिशत रहेको अनुमान गरिएको छ। लक्ष्य पूरा गर्न वार्षिक रूपमा झन्डै ३० अर्ब पाउन्ड बराबर अतिरिक्त लगानी आवश्यक पर्ने सरकारी अनुमान छ।

नेटोका महासचिव मार्क रुटले बेलायत भ्रमणका क्रममा स्टारमरसँग भेट गर्दै बेलायतले आफ्नो रक्षा प्रतिबद्धता पूरा गर्ने विश्वास व्यक्त गरेका छन्। उनले युरोपमा बढ्दो सुरक्षा चुनौतीका बीच बेलायतको नयाँ रणनीतिले नेटो गठबन्धनलाई अझ बलियो बनाउने बताएका छन्।

यद्यपि बेलायती सेनाका केही पूर्व प्रमुखहरूले प्रस्तावित बजेट अझै पर्याप्त नभएको टिप्पणी गरेका छन्। उनीहरूका अनुसार रूस, चीन तथा इरानजस्ता मुलुकबाट बढ्दो सुरक्षा चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्न अझ ठूलो र दीर्घकालीन लगानी आवश्यक पर्नेछ।

विश्लेषकहरूका अनुसार बेलायतको यो नयाँ रक्षा रणनीति परम्परागत सैन्य शक्तिबाट कृत्रिम बुद्धिमत्ता, ड्रोन प्रविधि र स्वचालित युद्ध प्रणालीतर्फको ऐतिहासिक परिवर्तनका रूपमा हेरिएको छ।

आफ्नै साथीले नक्कली प्रहरी बनाएर लुट्न पठाएपछि…

काठमाडौं । काठमाडौंको वनस्थली क्षेत्रमा ‘हामी प्रहरी हौँ’ भन्दै एक व्यक्तिलाई नियन्त्रणमा लिएर हतकडी लगाई १० लाख ९५ हजार रुपैयाँ नगद, मोबाइल फोन र बैंकका चेक लुटपाट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले चार जनालाई पक्राउ गरेको छ। घटनामा पीडितकै चिनजानका व्यक्ति समेत संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–८ खतिवडा चोकका ४३ वर्षीय धनबहादुर मोक्तान जग्गा खरिद गर्ने उद्देश्यले काठमाडौं आएका थिए। उनी काठमाडौं बसाइका क्रममा आफ्ना चिनजानका साथी शेरबहादुर मोक्तानको वनस्थलीस्थित डेरामा बसिरहेका थिए।

गत असार ९ गते साँझ करिब ७ बजेतिर पाँच-छ जनाको समूह त्यहाँ पुगेको थियो। उनीहरूले आफूहरू प्रहरी भएको परिचय दिँदै धनबहादुरलाई नियन्त्रणमा लिएका थिए। त्यसपछि उनलाई हतकडी लगाएर डर र त्रास देखाउँदै साथमा रहेको १० लाख ९५ हजार रुपैयाँ नगद, मोबाइल फोन तथा सिद्धार्थ बैंकका खाली चेकहरू लुटेर फरार भएको प्रहरीले जनाएको छ।

घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंले विशेष टोली परिचालन गरी अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा असार १४ गते काठमाडौंका विभिन्न स्थानमा छापा मारेर घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भई हाल काठमाडौंको धापासी बस्दै आएका ४३ वर्षीय रामशरण दमाई, काठमाडौंको टोखा नगरपालिका–१ निवासी ३८ वर्षीय सविन खवास, पर्साको ठोरी गाउँपालिका–४ घर भई हाल गौरीघाट बस्दै आएकी ४३ वर्षीया लक्ष्मी गोले तथा सिन्धुलीको घ्याङलेख गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थलीमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर मोक्तान रहेका छन्।

प्रहरीका अनुसार शेरबहादुर मोक्तान पीडित धनबहादुरका चिनजानका साथी हुन्। अनुसन्धानबाट उनले नै पीडितलाई काठमाडौं बोलाउने, बस्ने व्यवस्था मिलाउने र त्यसपछि लुटपाटको योजनामा सहयोग गरेको आशंका गरिएको छ। घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको देखिएकाले फरार आरोपितहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट लुटिएको रकममध्ये एक हजार दरका दुई सय थान नोट अर्थात् दुई लाख रुपैयाँ बरामद गरेको छ। लुटिएको बाँकी रकम र अन्य सामग्रीको खोजी भइरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका चारै जनाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइएको छ। उनीहरूमाथि प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको छ।

प्रहरीले घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको पहिचान भइसकेको जनाएको छ। उनीहरूको खोजी तथा लुटिएको सम्पूर्ण रकम बरामद गर्ने प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ।

डिजेल, पेट्रोल र ग्यासको मूल्य कति घट्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय कटौती गरेको छ।

निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार नयाँ मूल्यसूची बुधबार बिहानदेखि देशभर लागू भएको छ।

निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले कम गरिएको छ। यससँगै काठमाडौं, पोखरा र दिपायललगायत तेस्रो वर्गका क्षेत्रमा पेट्रोलको नयाँ खुद्रा मूल्य प्रतिलिटर १९७ रुपैयाँ कायम भएको छ। त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर १९५ रुपैयाँमा उपलब्ध हुनेछन्।

खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिलिन्डर १०० रुपैयाँले घटाइएको छ। अब १४.२ केजी क्षमताको एक सिलिन्डर एलपी ग्यास २ हजार ६० रुपैयाँमा उपलब्ध हुनेछ। यसअघि यसको मूल्य २ हजार १६० रुपैयाँ थियो।

त्यसैगरी, आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएर २२९ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य भने प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले घटाइएको निगमले जनाएको छ।

नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोल, डिजेल तथा हवाई इन्धनको लागत घटेर आएकाले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको हो।

निगमले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तन र आईओसीबाट प्राप्त खरिद मूल्यका आधारमा समय–समयमा पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गर्दै आएको छ।

सभापति रविले विधि मिच्दा अन्यायमा सांसद साेम शर्मा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई विधि, विधान र सुशासनका पक्षधर नेताका रूपमा चिनिन्छ। अन्यायमा परेकाको पक्षमा बोल्ने नेताका रूपमा पनि उनले छवि बनाएका छन्।

तर, अहिले उनीबाटै पार्टीका एक जना सांसद अन्यायमा परेका छन् । उनी हुन्- सा‌ंसद साेम शर्मा ।  निर्वाचित भए पनि शर्मालाई सभापति रविले केन्द्रीय सदस्य बनाएनन् । यससँगै पार्टीमा विधि र विधान कार्यान्वयनप्रतिकाे उनकाे प्रतिबद्धतामा प्रश्‍न उठेकाे छ ।

सांसद शर्माले नेपालवान एचडीसँग आफू अन्यायमा परेको गुनासो गरेका छन्। यद्यपि, सभापति लामिछानेले न्याय दिने विश्‍वास भने उनले मारेका छैनन् ।

उनले भने, ‘मलाई अन्याय भयो । म चौथोमा थिएँ । जेनजीको मुद्दा जनताका मुद्दा संस्थागत गर्न मेरो उम्मेदवारी थियो । मलाई थाहा छैन, किन यस्तो भयो । मलाई विश्वास छ, पक्कै पनि नेतृत्वले पुनर्विचार गर्छ होला र मैले न्याय पाउँछु ।’

यही असारकाे ७ गतेदेखि झण्डै एक साता भएकाे महाधिवेशनबाट गण्डकी भूगोलतर्फ शर्मा  केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । तर, बिना जानकारी र बिना कारण केन्द्रीय सदस्यबाट आफूलाई हटाएकाे भन्दै उनले पार्टीकाे निर्वाचन आयाेगमा निवेदन दिएका छन् ।

शर्माले आफूभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारलाई केन्द्रीय सदस्य बनाइएको दाबी गरेका छन्। यसले रास्वपाले उठाउँदै आएको विधि, विधान र सुशासनको एजेन्डामाथि नै प्रश्न उठाएको उनको भनाइ छ।

जेन-जी अभियानका अग्रपंक्तिका नेता मानिने शर्मा नयाँ पुस्ताको एजेन्डा उठाउने प्रभावशाली नेतामध्ये एक हुन्।

महाधिवेशनमा उनले गण्डकी भूगोलतर्फ ९९३ मत प्राप्त गरेका थिए। निर्वाचन समितिले मतपरिणामकाे आधारमा उनको जित घोषणा गरेको पनि उनको भनाइ छ।

कुनै पूर्वजानकारी आफ्नो नाम हटाइएको उनको गुनासो छ। सञ्चार माध्यमबाट मात्रै यसबारे जानकारी पाएको उनले उल्लेख गरेका छन्।

शर्माले रास्वपाको विधानको दफा २२(४) अनुसार आफू निर्वाचित भएको दाबी गरेका छन्। आफू चौथो उच्च मत प्राप्त उम्मेदवार भएकाले आफ्नो निर्वाचित हैसियतमा कुनै विवाद नरहेको उनको जिकिर छ।

शर्माले आफूलाई निर्वाचित केन्द्रीय सदस्यको हैसियतमा यथावत् कायम गर्न माग गरेका छन्। निर्णयको कानुनी तथा तथ्यगत आधार सार्वजनिक गर्न पनि आग्रह गरेका छन्। आवश्यक स्पष्टीकरण उपलब्ध गराउन उनले माग गरेका छन्।

रास्वपाकाे निर्वाचन आयाेगका अनुसार पवित्रा थापाले १०७६ मत, मनिष खनालले १०५२ मत, सागर भुसालले १०४० मत, साेम शर्माले ९९३ मत, पूजा बास्ताेलाले ९१३ मत र विष्णुकमारी गुरुङले ८०० मत पाएकी थिइन् ।

तर निर्वाचित भएका शर्मा हटाइए, पूजा र विष्णुकाे नाम केन्द्रीय सदस्यमा अँटाएका छन् । यसले रास्वपा सभापति लामिछानेकाे विधि र प्रक्रियाकाे प्रतिबद्धता कमजाेर देखिएकाे छ ।

यस्ताे छ साेम शर्माकाे निवेदन

कांग्रेससहितको बृहत् मोर्चाको संकेत गर्दैछन् ओली?

काठमाडौं। नेपालका वामपन्थी दलहरूबीच पुनः एकताको बहस चर्किरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने फरक राजनीतिक दिशा संकेत गरेका छन्। 

कम्युनिष्ट शक्तिहरूबीच संगठनात्मक एकीकरणभन्दा साझा एजेन्डामा आधारित सहकार्यलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै उनले आवश्यकता परे नेपाली कांग्रेससहित लोकतान्त्रिक शक्तिसँग पनि कार्यगत सहकार्य हुन सक्ने संकेत दिएका हुन्।

पछिल्ला दिनहरूमा वाम नेताहरूले विभाजित कम्युनिष्ट आन्दोलनलाई पुनः एउटै धारमा ल्याउनुपर्ने विषयलाई प्रमुख राजनीतिक एजेन्डा बनाइरहेका छन्। विशेषगरी पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालले वाम एकता नै वर्तमान राजनीतिक चुनौतीको समाधान हुन सक्ने तर्क गर्दै आएका छन्।

यही बहसबीच एमाले अध्यक्ष ओलीले भने आफ्नो पार्टीको रणनीति फरक रहेको स्पष्ट पारेका छन्। बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रममा उनले एमाले कुनै पनि राजनीतिक दलसँग संस्थागत रूपमा एकीकरण नगर्ने बताए। उनले भने, ‘विचार, नीति र कार्यक्रम स्वीकार गर्ने व्यक्ति वा समूहलाई पार्टीमा स्वागत गरिनेछ, तर पार्टी विलयको अभ्यास दोहोरिने छैन।’

ओलीको उक्त अभिव्यक्तिलाई एमालेले विगतका एकीकरणका अनुभवबाट नयाँ निष्कर्ष निकालेको संकेतका रूपमा पनि हेरिएको छ। पछिल्ला वर्षहरूमा भएका विभिन्न कम्युनिष्ट एकताले अपेक्षित राजनीतिक स्थायित्व दिन नसकेको निष्कर्ष एमाले नेतृत्वले निकालेको समेत देखिन्छ।

यद्यपि, उनले राजनीतिक सहकार्यको ढोका भने बन्द गरेका छैनन्। संविधानको रक्षा, लोकतान्त्रिक व्यवस्था, राष्ट्रिय हित र देशका साझा सरोकारका विषयमा विचार मिल्ने शक्तिहरूसँग सहकार्य गर्न सकिने उनको भनाइले कांग्रेससँग समेत कार्यगत सम्बन्ध बन्न सक्ने सम्भावनालाई खुला राखेको छ। उनले कांग्रेस सहितको विशाल मोर्चाको तयारी गर्न खोजेको देखिन्छ।

यसले नेपाली राजनीतिक वृत्तमा नयाँ बहस सुरु गरेको छ। एउटै विचारधाराका कम्युनिष्ट दलहरूबीच एकता अस्वीकार गर्ने एमालेले वैचारिक रूपमा फरक कांग्रेससँग भने मुद्दा केन्द्रित सहकार्यको सम्भावना खुला राख्नु रणनीतिक परिवर्तनको संकेतका रूपमा राजनीतिक वृत्तमा व्याख्या हुन थालेको छ।

नेपालको राजनीतिक इतिहासमा पनि फरक विचारधाराका दलहरूले राष्ट्रिय आवश्यकता अनुसार सहकार्य गरेका उदाहरण छन्। प्रजातान्त्रिक आन्दोलन, लोकतन्त्र पुनःस्थापना तथा संविधान निर्माणका विभिन्न चरणमा कांग्रेस र वाम दलहरू एउटै मोर्चामा उभिएका थिए। हुन त आवश्यकता अनुसार हुने कार्यगत सहकार्य नेपाली राजनीतिका लागि नयाँ अभ्यास भने कदापि होइन।

यद्यपि वर्तमान राजनीतिक परिवेश फरक भएकाले यस्तो सहकार्य कुन विषयमा, कति प्रभावकारी र कति दीर्घकालीन हुन्छ भन्ने प्रश्न भने यथावत् नै छ। वर्तमान सत्ता समीकरण, दलहरूको राजनीतिक प्राथमिकता र आगामी निर्वाचनको तयारीले पनि त्यसको दिशा निर्धारण गर्नेछ।

ओलीको पछिल्लो धारणा हेर्दा एमाले तत्काल वाम एकीकरणको बाटोमा जानेभन्दा आफ्नै संगठनलाई बलियो बनाउने, नयाँ राजनीतिक आधार विस्तार गर्ने र आवश्यकता अनुसार फरक विचारधाराका शक्तिसँग समेत साझा मुद्दामा सहकार्य गर्ने रणनीतिमा अघि बढ्न खोजिरहेको सन्देश स्पष्ट देखिन्छ।

यसले वाम आन्दोलनभित्रको एकताको बहसभन्दा पनि आगामी राजनीतिक समीकरण कसरी बन्छ भन्ने विषयलाई थप चासोको केन्द्रमा ल्याएको छ।

बालेन गुट र रवि गुटको लडाइँ

काठमाडाैं। झट्ट हेर्दा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेको सम्बन्ध ठिकठाक देखिन्छ । तर भुसको आगो जसरी यी दुई नेताबीच शक्ति सङ्घर्ष चुलिएको छ । रवि र बालेन समूहबीच आपसी प्रतिष्पर्धा यति बढेको छ कि विवाद र गुटको लडाइँ छताछुल्ल हुन थालेको छ ।

हालै सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनदेखि मन्त्रिपरिषद्का गतिविधि, प्रधानमन्त्री सचिवालय र परराष्ट्र मन्त्रालयबीच देखिएका मतभिन्नता तथा राहदानी खरिद प्रक्रियासँग जोडिएका घटनाक्रमले सरकारभित्र दुई फरक धार सक्रिय रहेको चर्चा राजनीतिक वृत्तमा बढाएको छ। सम्बन्धित पक्षले औपचारिक रूपमा कुनै गुटगत विवाद स्वीकार नगरे पनि पछिल्ला घटनाले सरकारभित्र आन्तरिक असहजता रहेको संकेत गरेको विश्लेषण भइरहेको छ।

सबैभन्दा पहिले रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमै दुई पक्षबीच मतभिन्नता सतहमा आएको चर्चा भयो। तीन दिनमा सक्ने भनिएको महाधिवेशन अन्ततः छ दिनसम्म लम्बिएको थियो। महाधिवेशनमा पद बाँडफाँटदेखि नीति निर्माणसम्म सहमति जुटाउन लामो समय लागेको बताइन्छ।

महाधिवेशनमा सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको अर्थ–राजनीतिक प्रतिवेदनमा समेत नीतिगत मतभिन्नता देखिएको थियो। लामिछानेले प्रत्यक्ष निर्वाचित कार्यकारी नेतृत्वको पक्षमा धारणा राख्दा वाग्लेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भविष्यमा प्रदेश सभा खारेजी, राष्ट्रिय सभालाई गैरदलीय विशेषज्ञ सभा बनाउने तथा स्थानीय तहलाई निर्दलीय बनाउने प्रस्ताव अघि सारेका थिए। यी फरक प्रस्तावलाई महाधिवेशनभित्र देखिएको शक्ति सन्तुलनसँग जोडेर पनि हेरियो।

महाधिवेशनपछि सरकार सञ्चालनका क्रममा पनि प्रधानमन्त्री सचिवालय र विभिन्न मन्त्रालयबीच फरक धारणा सार्वजनिक हुन थाले। त्यसको सबैभन्दा चर्चित उदाहरण राहदानी खरिद प्रक्रिया बन्यो।

ई-पासपोर्ट छपाइका लागि जर्मन कम्पनीसँग भएको ठेक्का निरन्तरता दिने वा रद्द गर्ने विषयमा सरकारभित्र दुई फरक अडान देखिएको स्रोतहरूको दाबी छ। परराष्ट्रमन्त्री शिशिर खनालले ठेक्का अवधि समाप्त नभएसम्म सम्बन्धित कम्पनीलाई काम गर्ने अवसर दिनुपर्ने धारणा राख्दै आएका छन्। उनका अनुसार सम्झौता समयअघि नै तोडिए नेपाल अन्तर्राष्ट्रिय आर्बिट्रेसनमा जानुपर्ने अवस्था आउन सक्छ, जसबाट मुलुकले आर्थिक तथा कूटनीतिक दुवै क्षति बेहोर्नुपर्ने जोखिम रहन्छ।

यता प्रधानमन्त्री सचिवालय भने कम्पनीले समयमै राहदानी आपूर्ति गर्न नसकेको निष्कर्षमा पुग्दै ठेक्का तत्काल रद्द गर्नुपर्ने पक्षमा रहेको चर्चा छ। स्रोतका अनुसार प्रधानमन्त्री सचिवालयका एक सदस्यले राहदानी विभागमा फोन गरी ठेक्का रद्द गर्न दबाब दिएको विषय विभागका अधिकारीहरूले मन्त्रालयमा जानकारी गराएका थिए। त्यसपछि यो विषय सामान्य प्रशासनिक निर्णयको सीमाभन्दा माथि उठेर राजनीतिक बहसको विषय बन्यो।

राहदानी प्रकरणले सरकारभित्र निर्णय प्रक्रियाको अधिकार कससँग रहने भन्ने प्रश्न पनि उठाएको छ। मन्त्रालयले आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा निर्णय गर्ने कि प्रधानमन्त्री सचिवालयले प्रत्यक्ष हस्तक्षेप गर्ने भन्ने विषयमा प्रशासनिक वृत्तमा समेत बहस भएको छ।

यहीबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रक्रियामा अनियमितता भएको आरोपमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। त्यसपछि ठेक्का तत्काल रद्द गर्नुपर्ने पक्षले आफ्नो अडानलाई थप बलियो बनाउने प्रयास गरेको देखिएको छ भने अर्को पक्षले अदालतमा मुद्दा दर्ता हुँदैमा सम्झौता स्वतः समाप्त नहुने कानुनी आधार प्रस्तुत गरिरहेको छ।

यसअघि प्रधानमन्त्री बालेन शाहले संसद्मा सीमा सम्बन्धी दिएको अभिव्यक्तिपछि पनि सरकारभित्र फरक धारणा देखिएको थियो। प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले छुट्टै धारणा सार्वजनिक गर्दै उक्त अभिव्यक्ति सीमा व्यवस्थापनसँग सम्बन्धित सन्दर्भमा बुझ्नुपर्ने जनाएको थियो। यसलाई पनि प्रधानमन्त्री सचिवालय र मन्त्रालयबीचको समन्वय अभावको अर्को उदाहरणका रूपमा चर्चा गरिएको थियो।

त्यसपछि रास्वपा सभापति रवि लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा गए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस. जयशंकरलगायत उच्च नेतृत्वसँग भेटवार्ता गरेका थिए। उक्त भ्रमणमा सहभागी टोलीमा रवि लामिछाने निकट मानिएका नेताहरू मात्र सहभागी भएको चर्चा पनि राजनीतिक वृत्तमा भयो।

लगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत र चीन भ्रमणमा निस्किए। यी भ्रमणका क्रममा पनि सरकारभित्र प्रतिनिधित्व र समन्वयको विषयमा विभिन्न टिप्पणी सार्वजनिक भए। कतिपयले यसलाई सरकारभित्र फरक शक्ति केन्द्र सक्रिय रहेको संकेतका रूपमा व्याख्या गरेका छन्।

यसरी महाधिवेशनदेखि राहदानी खरिद प्रक्रिया, प्रधानमन्त्री सचिवालय र मन्त्रालयबीच देखिएका मतभिन्नता, सीमा सम्बन्धी अभिव्यक्ति तथा उच्चस्तरीय विदेश भ्रमणसम्मका घटनालाई जोडेर राजनीतिक वृत्तमा सरकारभित्र शक्ति सन्तुलनको प्रतिस्पर्धा बढेको चर्चा भइरहेको छ।

यद्यपि प्रधानमन्त्री सचिवालय, रास्वपा नेतृत्व तथा सम्बन्धित मन्त्रालयले सरकारभित्र कुनै गुटगत संघर्ष रहेको विषयलाई औपचारिक रूपमा स्वीकार गरेका छैनन्। तर पछिल्ला घटनाक्रमले निर्णय प्रक्रिया, अधिकारको सीमारेखा र सरकारभित्रको समन्वयबारे भने बहसलाई तीव्र बनाएको छ।

महिला र पुरुष मृत फेला

काठमाडौं । देशका दुई फरक जिल्लामा एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

नेपाल प्रहरीका अनुसार रूपन्देहीको सियारी गाउँपालिका–४ खैरेनीडिहीस्थित दानव नदी किनारमा अन्दाजी ४० वर्षीया एक महिला मंगलबार मृत अवस्थामा भेटिएकी हुन्। उनको हालसम्म पहिचान खुल्न सकेको छैन।

त्यसैगरी पर्वतको कुश्मा नगरपालिका–१ सस्रधारास्थित कालीगण्डकी नदीमा पनि पहिचान नखुलेका एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

दुवै घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

शवको पहिचान, मृत्युको कारण तथा घटनासम्बन्धी अन्य पक्षबारे सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले अनुसन्धान अघि बढाएका छन्।

भेनेजुएला भूकम्प : भग्नावशेषमा पुरिएका मानिस कति दिनसम्म बाँच्न सक्छन्?

काठमाडौं। हालै भेनेजुएलामा एक मिनेटको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएपछि हजारौँ संरचनामा क्षति पुगेको छ। उद्धार टोलीहरू भग्नावशेषमा फसेकाहरूको खोजीमा खटिएका छन्।

यस्तो अवस्थामा मानिसको जीवन कति समयसम्म जोगिन सक्छ भन्ने विषय फेरि चर्चामा आएको छ। ‘भग्नावशेषमा पुरिएका मानिस कति दिनसम्म बाँच्न सक्छन्?’

विशेषज्ञहरूका अनुसार यसको कुनै निश्चित उत्तर छैन। जीवित रहने समय व्यक्तिको शारीरिक अवस्था, लागेको चोट, सास फेर्न हावा उपलब्ध भए-नभएको, पानीको पहुँच, मौसम र मानसिक अवस्थाजस्ता धेरै कुराले निर्धारण गर्छ।

उद्धारकर्मीहरूका अनुसार भूकम्पपछिको पहिलो २४ घण्टा सबैभन्दा महत्वपूर्ण मानिन्छ। यही अवधिमा सबैभन्दा धेरै मानिस जीवित उद्धार हुने गरेका छन्। तर इतिहासले केही यस्ता उदाहरण पनि देखाएको छ, जहाँ मानिसहरू एक साताभन्दा धेरै समयपछि पनि जीवित फेला परेका छन्।

यही कारण संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय उद्धार निकायहरूले सामान्यतया पाँचदेखि सात दिनसम्म सक्रिय खोज तथा उद्धार अभियान सञ्चालन गर्छन्। यदि त्यस अवधिमा पनि जीवित भेटिने सम्भावना देखिएमा अभियान अझ लम्ब्याइन्छ।

भग्नावशेषभित्र बाँच्ने सम्भावना बढाउने सबैभन्दा महत्वपूर्ण तत्व अक्सिजन हो। भवन भत्किँदा शरीर वरिपरि सानो खाली ठाउँ बनेको छ र त्यहाँबाट हावा आइरहेको छ भने मानिस लामो समयसम्म बाँच्न सक्छ। भूकम्पका बेला बलियो टेबल वा फर्निचरमुनि बसेर टाउको जोगाउने अभ्यासलाई प्रभावकारी मानिन्छ। यसले शरीर वरिपरि सुरक्षित खाली स्थान बन्ने सम्भावना बढाउँछ।

पानी पनि जीवन रक्षाको अर्को आधार हो। सामान्य अवस्थामा मानिस पानीबिना तीनदेखि सात दिनसम्म मात्र बाँच्न सक्छ। भग्नावशेषमा अत्यधिक गर्मी भए शरीरबाट पानी छिटो गुम्ने भएकाले निर्जलीकरणको जोखिम बढ्छ। चिसो मौसममा भने शरीरको तापक्रम घटेर हाइपोथर्मिया हुन सक्छ। त्यसैले मौसमले पनि जीवित रहने समयलाई प्रत्यक्ष प्रभाव पार्छ।

यदि टाउको, छाती वा मेरुदण्डमा गम्भीर चोट लागेको छ भने बाँच्ने सम्भावना निकै घट्छ। अत्यधिक रक्तस्राव, भित्री अङ्गमा चोट वा धेरै हड्डी भाँचिएको अवस्थामा तत्काल उपचार नपाए अवस्था जटिल बन्छ।

अर्कोतर्फ, उद्धारपछि पनि जोखिम समाप्त हुँदैन। लामो समयसम्म भारी संरचनाले शरीर च्यापिँदा हुने ‘क्रस सिन्ड्रोम’का कारण मांसपेशीबाट निस्किएका हानिकारक पदार्थ रगतमा मिसिँदा मिर्गौला तथा अन्य अङ्गमा गम्भीर असर पर्न सक्छ।

विशेषज्ञहरूले मानसिक अवस्थालाई पनि उत्तिकै महत्वपूर्ण मान्छन्। अत्यधिक आत्तिँदा मानिसले धेरै अक्सिजन प्रयोग गर्छ र शरीरको ऊर्जा छिटो सकिन्छ। त्यसैले सम्भव भएसम्म शान्त रहनु, अनावश्यक रूपमा शरीर नचलाउनु र उद्धार हुने आशा कायम राख्नु जीवन जोगाउने महत्वपूर्ण उपाय मानिन्छ।

विश्वका विभिन्न विपत्तिले आश्चर्यजनक उद्धारका उदाहरण पनि दिएका छन्। सन् १९९५ मा दक्षिण कोरियामा एक व्यक्ति १० दिनपछि जीवित निकालिएका थिए। सन् २०१३ मा बङ्गलादेशको राना प्लाजा भवन दुर्घटनामा एक महिला १७ दिनपछि जीवित भेटिएकी थिइन्।

सन् २०१० को हैटी भूकम्पमा एक व्यक्ति १२ दिनपछि र अर्का एक २७ दिनपछि जीवित उद्धार भएका थिए। त्यस्तै सन् २००५ मा पाकिस्तान प्रशासित कश्मीरमा आएको भूकम्पपछि एक महिला करिब दुई महिनापछि भग्नावशेषबाट जीवित फेला परेको घटना पनि विश्वकै दुर्लभ उद्धारमध्ये एक मानिन्छ।

यदि पर्याप्त हावा उपलब्ध छ, गम्भीर चोट लागेको छैन, शरीरले केही मात्रामा पानीको आवश्यकता पूरा गर्न सकेको छ र मानसिक रूपमा धैर्य कायम छ भने मानिसले सामान्य अनुमानभन्दा धेरै दिनसम्म पनि जीवन जोगाउन सक्छ।

५१औँ दिन मनाउँदै गर्दासम्म ‘लालीबजार’ले कति कमायो ?

काठमाडौं । नेपाली फिल्म ‘लालीबजार’ले प्रदर्शनको ५१औँ दिन पूरा गरेको अवसरमा निर्माण टिमले विशेष कार्यक्रम आयोजना गर्दै सफलताको उत्सव मनाएको छ। राजधानीमा सोमबार साँझ आयोजित कार्यक्रममा कलाकार, प्राविधिक तथा चलचित्रकर्मीहरूको उपस्थितिमा केक काटेर खुसी साटिएको हो।

बक्सअफिसमा ९ करोड ३१ लाख रुपैयाँभन्दा बढीको व्यापार गर्न सफल भएको फिल्मले देशका केही चलचित्र हलमा ५१औँ दिनसम्म प्रदर्शन कायम राख्न सफल भएको निर्माण पक्षले जनाएको छ।

उत्सव कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, वरिष्ठ अभिनेत्रीहरू चैत्यदेवी सिंह, बसुन्धरा भुसाल, भुवन चन्दलगायत चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा फिल्मको सफलतामा योगदान पुर्‍याउने कलाकार तथा प्राविधिकलाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो।

रिलिजअघि वादी समुदायको विरोध र अदालतसम्म पुगेको कानुनी विवादका कारण चर्चामा रहेको ‘लालीबजार’ अन्ततः वैशाख २५ गतेबाट प्रदर्शनमा आएको थियो। प्रारम्भिक रूपमा वैशाख १८ गते प्रदर्शन गर्ने तयारी भए पनि केही प्राविधिक तथा व्यवस्थापकीय कारणले प्रदर्शन मिति सारिएको थियो।

फिल्ममा मुख्य भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का रहेकी छन्। सफलताको उत्सवका क्रममा उनले मञ्चमै नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएकी थिइन्।

यम थापाको निर्देशनमा बनेको ‘लालीबजार’का निर्माता म्याक्स दिपेश खत्री हुन्। फिल्ममा स्वस्तिमासँगै रवीन्द्रसिंह बानियाँ, प्रदीप भट्टराईलगायत कलाकारहरूको अभिनय रहेको छ।

नकआउट पुग्न सकेनन् यी १६ टोली

काठमाडौं। फिफा विश्वकप २०२६ को समूह चरण सकिएसँगै प्रतियोगिताको नकआउट चरणमा पुग्ने ३२ टोलीको अन्तिम सूची तय भएको छ।

कुल ७२ खेलको समूह चरणपछि फुटबल विश्वले यस पटक मिश्रित नतिजा, ठूला अपसेट र केही ऐतिहासिक असफलता देखेको छ।

समूह चरणमा १२ समूहमा विभाजन गरी खेलाइएको प्रतिस्पर्धाबाट प्रत्येक समूहका शीर्ष दुई टोली तथा उत्कृष्ट तेस्रो स्थानमा रहेका ८ टोलीले नकआउट चरणमा प्रवेश पाएका छन्। बाँकी १६ टोलीको यात्रा यहीँ समाप्त भएको छ।

यस संस्करणको सबैभन्दा ठूलो झट्कामध्ये एक दुई पटकका विश्व च्याम्पियन उरुग्वे समूह चरणमै बाहिरिनु हो। दक्षिण अमेरिकी फुटबलको परम्परागत शक्तिका रूपमा चिनिने उरुग्वे अपेक्षाकृत कमजोर प्रदर्शनका कारण शीर्ष स्थानमा पुग्न सकेन र समूह चरणमै घर फर्कियो।

यो नतिजालाई विश्व फुटबल विश्लेषकहरूले ‘सबैभन्दा ठूलो उलटफेर’ मध्ये एकका रूपमा लिएका छन्।

एसियाबाट यस विश्वकपमा ९ टोलीले सहभागिता जनाए पनि केवल दुई टोली जापान र अस्ट्रेलियाले मात्रै नकआउट चरणमा स्थान बनाउन सफल भए।

समूह चरणमै बाहिरिएका एसियाली टोलीहरूमा दक्षिण कोरिया, इरान, जोर्डन, इराक, साउदी अरेबिया, उज्बेकिस्तान र कतार रहेका छन्।

विश्लेषकहरूका अनुसार एसियाली फुटबलले संरचनागत सुधार र विकास गरिरहेको देखिए पनि उच्च स्तरको निरन्तर प्रदर्शनमा अझै चुनौती कायम छ।

युरोपेली महादेशबाट चेक रिपब्लिक, स्कटल्यान्ड र टर्की समूह चरणबाट बाहिरिए। युरोपका अन्य शक्तिशाली टोलीहरूले भने नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल भए।

टर्कीको बाहिरिनु विशेष रूपमा आश्चर्यजनक मानिएको छ, किनकि पछिल्ला प्रतियोगिताहरूमा उसको प्रदर्शन सुधारिँदै गएको थियो।

अफ्रिकाबाट सहभागी १० टोलीमध्ये ९ टोली नकआउट चरणमा प्रवेश गर्न सफल भए, जुन यस संस्करणको सबैभन्दा बलियो महादेशीय प्रदर्शनमध्ये एक हो।

तर ट्युनिसिया भने समूह चरणमै बाहिरिने एकमात्र अफ्रिकी टोली बन्यो। अन्य अफ्रिकी टोलीहरूको प्रदर्शनले महादेशीय फुटबलको बढ्दो प्रतिस्पर्धात्मक क्षमता देखाएको छ।

उत्तर अमेरिका र कन्काकाफ क्षेत्रबाट सहभागी पानामा, हाइटी र कुरासाओ समूह चरणमै बाहिरिए।

ओसियानाबाट सहभागी न्यूजील्यान्ड पनि समूह चरण पार गर्न असफल रह्यो, जसले उक्त क्षेत्रको सीमित प्रतिस्पर्धात्मक क्षमतालाई पुनः उजागर गरेको छ।

अब ३२ टोलीबीच सुरु हुने नकआउट चरणलाई प्रतियोगिताको वास्तविक परीक्षा मानिन्छ। समूह चरणमा देखिएको अपसेट र ठूला टोलीहरूको असफलताले यस पटकको विश्वकपलाई अझ अनिश्चित र रोमाञ्चक बनाएको छ।

विश्लेषकहरूका अनुसार नकआउट चरणमा प्रत्येक खेल ‘कर वा मरो’को स्थितिमा हुने भएकाले उपाधिको दौड अझ अप्रत्याशित बन्न सक्छ।

विश्व फुटबलका समर्थकहरू अब अर्को चरणका खेलहरूमा नयाँ इतिहास बन्ने प्रतीक्षामा छन्।

सभामुख अर्यालद्वारा नागढुंगा सुरुङमार्गको निरीक्षण [तस्वीरहरु]

काठमाडौं। सभामुख डीपी अर्यालले काठमाडौं र धादिङ जोड्ने निर्माणाधीन नागढुंगा सुरुङमार्गको निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा सभामुख अर्यालले आयोजनाको निर्माण प्रगति, सुरुङमार्गका प्राविधिक पक्ष तथा बाँकी रहेका कामबारे आयोजना पदाधिकारीसँग जानकारी लिएका थिए। उनले निर्धारित समयमै निर्माण सम्पन्न गरी सर्वसाधारणको सेवामा सुरुङमार्ग सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई आवश्यक समन्वय र प्रभावकारी कार्यसम्पादन गर्न आग्रह गरेका छन्।

आयोजना पक्षले सुरुङमार्गको हालसम्मको भौतिक प्रगति, परीक्षण तथा सञ्चालनको तयारीबारे सभामुखलाई जानकारी गराएको थियो।

नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा प्रवेश गर्ने तथा बाहिरिने सवारीसाधनको यात्रा समय घट्नुका साथै ट्राफिक व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ।

 

सुस्ताको माटो बोकेर पहिचानको लडाइमा सुस्ताबासी(फोटो-फिचर)

काठमाडौं। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को सुस्ता क्षेत्रका बासिन्दा नागरिकता, लालपुर्जा र सीमा सुरक्षाको माग गर्दै काठमाडौं आएका छन्। आफ्नै गाउँको माटो बोकेर राजधानी आइपुगेका उनीहरूले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै सरकारसँग आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्।

सुस्ताबासीहरूले नागरिकता र लालपुर्जाविहीन अवस्थामा वर्षौंदेखि बाँच्नुपरेको गुनासो गर्दै सीमा क्षेत्रमा नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले प्रदर्शनका क्रममा सुस्ताको माटो प्रदर्शनस्थलमा राख्दै आफ्नो भूमि र पहिचान जोगाइदिन सरकारसँग अपिल गरेका थिए। 

सुस्ता–बर्दघाटका घर भएका हेमराज दाहालका अनुसार भारतीय एसएसबीले खेतमा रहेको ट्याक्टर हटाउनसमेत धम्की दिने गर्छ। वर्षौंदेखि सीमा सुरक्षाको जिम्मेवारी बोर्डर छेउका नागरिकले नै निभाउँदै आए पनि सरकारले त्यसको कुनै मूल्यांकन नगरेको उनले दुखेसो पोखे।

‘सीमाको सुरक्षा हामीले गर्छौं, तर सरकारले हामीलाई नै अप्ठ्यारोमा पारिदिन्छ,’ हेमराजले भने।

प्रधानमन्त्री बालेन्द्र शाहको हस्तक्षेपपछि भारतीय हस्तक्षेप झन् बढेको उनले बताए। ‘प्रधानमन्त्रीले नेपालले भारतको जग्गा मिचेको छ भनेपछि हामी झन् अप्ठ्यारोमा पर्यौं। अहिले भारतीय सीमा सुरक्षा बल दैनिकजसो सुस्ता छिर्छ र हामीलाई धम्की दिएर फर्किन्छ,’ उनले भने।

प्रदर्शनमा सहभागीहरूले पछिल्लो समय भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले सुस्ता क्षेत्रमा प्रवेश गरी स्थानीयलाई धम्क्याउने र मानसिक दबाब दिने गतिविधि बढेको आरोप लगाए। उनीहरूका अनुसार विशेषगरी पछिल्ला दुई महिनायता सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीको गतिविधि बढेपछि स्थानीय त्रसित बनेका छन्।

माइतीघर पुगेका अधिकांश सुस्ताबासीले नागरिकता र पहिचानको माग गरिरहेका छन्। सधैँभरी भारतीय हेपाइ र अत्याचार बस्न नसक्ने उनीहरुको गुनासो छ। 

‘भारतीय एसएसबी आएर हामीलाई दुख दिन्छ। बन्दुक देखाएर तर्साउछ। गोली खान परेपनि नेपालकै गोली खान्छौँ, हामीलाई नागरिकता चाहियो,’ प्रदर्शनमा सहभागी एक महिलाले भनिन्। 

पहिलो चरणमा करिब ६० परिवारका प्रतिनिधि काठमाडौं आएको जनाइएको छ। उनीहरूले माइतीघर मण्डलाबाटै अनिश्चितकालीन आन्दोलन सुरु गरेको बताएका छन्। सरकारबाट माग सम्बोधन नभए दोस्रो चरणमा थप पीडित परिवार पनि काठमाडौं आएर आन्दोलनमा सहभागी हुने चेतावनी उनीहरूले दिएका छन्।

आन्दोलनमा सहभागी एक स्थानीयले वर्षौंदेखि आफ्नै देशमा नागरिकता र लालपुर्जाविहीन भएर बाँच्नुपरेको भन्दै सीमा क्षेत्रमा सुरक्षाको प्रत्याभूति हुन नसकेको गुनासो गरे।

‘हामी आफ्नै देशमा नागरिकता र लालपुर्जाविहीन भएर बाँचिरहेका छौं। अहिले त भारतीय सुरक्षाकर्मी गाउँमै आएर धम्क्याउन थालेका छन्। सरकारले हाम्रो सुरक्षा र अधिकार सुनिश्चित गर्नुपर्छ,’ उनले भने।

सुस्ताबासीहरूले सीमा क्षेत्रमा नेपाली नागरिकको सुरक्षा, नागरिकता तथा लालपुर्जाको समस्या समाधानका लागि तत्काल ठोस पहल गर्न सरकारसँग माग गरेका छन्।

जेनजी आन्दोलनमा आखिर कहाँ चुक्यो सुरक्षा संयन्त्र?

काठमाडौं। जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीले गरेको बल प्रयोग, कमान्ड संरचना र सुरक्षा व्यवस्थापनबारे अध्ययन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो अध्ययन प्रक्रिया सम्पन्न गरेको छ। 

समितिले अहिले प्रतिवेदन लेखनको अन्तिम चरणमा काम गरिरहेको जनाएको हो। प्रारम्भिक अध्ययनबाट विशेषगरी नयाँ बानेश्वर क्षेत्रमा भएको हिंसात्मक घटनाका क्रममा सुरक्षा व्यवस्थापनमा विभिन्न तहमा ‘ल्याकिङ’ अर्थात् कमजोरी देखिएको निष्कर्ष निकालिएको स्रोतले जनाएको छ।

सरकारले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सुरक्षा निकायका प्रमुख र कमान्डरहरूमाथि गरेको कारबाही सिफारिसको अध्ययन गर्न वैशाख २ गते उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्व एआईजी टेकप्रसाद राई सदस्य छन्।

समितिका संयोजक प्रेमराज कार्कीका अनुसार प्रमाण, भिडियो, घटनास्थलको विवरण तथा सम्बन्धित अधिकारीहरूसँगको छलफलपछि अध्ययन सम्पन्न भइसकेको छ र अहिले सिफारिससहितको प्रतिवेदन तयार पार्ने काम भइरहेको छ। उनले निर्धारित समयभित्रै सरकारलाई प्रतिवेदन बुझाइने बताए।

समितिले विशेषगरी २०८२ भदौ २३ गते काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा भएको हिंसात्मक घटनाको विस्तृत अध्ययन गरेको छ। अध्ययनका क्रममा कुनै एक पक्षको मात्र नभई सुरक्षा तयारी, कमान्ड, स्रोत-साधन तथा परिस्थिति व्यवस्थापनलगायत विभिन्न पक्षमा कमजोरी देखिएको निष्कर्ष निकालिएको समितिका सदस्यहरूले बताएका छन्।

संयोजक कार्कीका अनुसार भदौ २३ को घटना ‘ल्याकिङको एकीकृत परिणाम’ थियो। उनका अनुसार सुरक्षा निकायका विभिन्न तहमा देखिएका कमजोरीहरू अन्ततः एउटै घटनामा एकसाथ प्रकट भएका थिए।

समितिका एक सदस्यका अनुसार सुरक्षाकर्मीले सुरुमा संसद् भवनतर्फ अघि बढेका प्रदर्शनकारीलाई सम्झाइबुझाइ गरेर रोक्ने प्रयास गरेका थिए। बन्दुक बोकेका सुरक्षाकर्मीले हात जोडेर प्रदर्शनकारीलाई पछाडि फर्किन आग्रह गरेको दृश्यसमेत अध्ययनका क्रममा भेटिएको जनाइएको छ।

तर प्रदर्शनकारीको संख्या छोटो समयमा अप्रत्याशित रूपमा बढ्दै गएपछि सुरक्षा घेरा कमजोर बनेको र त्यसपछि सुरक्षाकर्मी आत्तिएको अध्ययनले देखाएको छ। परिस्थिति नियन्त्रणबाहिर जान थालेपछि बल प्रयोगको मात्रा पनि बढ्दै गएको समितिको निष्कर्ष छ।

अध्ययनअनुसार सुरक्षाकर्मीले चरणबद्ध रूपमा बल प्रयोग गरे पनि स्थिति बिग्रिँदै जाँदा नयाँ बानेश्वर क्षेत्रमा अत्यधिक गोली चलाइएको देखिएको छ। संसद् भवनजस्तो संवेदनशील संरचना जोगाउने कानुनी जिम्मेवारी सुरक्षा निकायसँग रहे पनि त्यसक्रममा भएको गोली प्रहारबाट धेरै प्रदर्शनकारीको ज्यान जानु सुरक्षा व्यवस्थापनको कमजोरीका रूपमा औँल्याइएको छ।

समितिको अध्ययनअनुसार प्रदर्शनकारीले एम्बुलेन्स तथा अन्य सवारीसाधनमा आगजनी गर्न थालेपछि सुरक्षाकर्मीले गोली चलाएको देखिएको छ। प्रारम्भिक हिंसात्मक गतिविधि सुरु भएपछि सुरक्षाकर्मीले करिब सात मिनेटसम्म स्थिति नियन्त्रण गर्ने प्रयास गरेको अध्ययनमा उल्लेख गरिएको छ। त्यसपछि परिस्थिति थप जटिल बन्दै गएपछि गोली प्रहार गरिएको निष्कर्ष निकालिएको छ।

समितिले सुरक्षा निकायसँग आवश्यक स्रोत र साधनको अभाव रहेको विषयलाई पनि प्रतिवेदनको महत्वपूर्ण पक्ष बनाएको छ। सरोकारवाला अधिकारीहरूसँगको छलफल तथा अभिलेख अध्ययनका क्रममा करिब १० वर्षदेखि नेपाल प्रहरीले भिड नियन्त्रणका लागि आवश्यक आधुनिक सामग्री खरिद नगरेको तथ्य समितिले उल्लेख गरेको छ।

समितिका अनुसार आवश्यक उपकरण, सुरक्षा सामग्री र आधुनिक भीड व्यवस्थापन साधनको अभावले पनि सुरक्षाकर्मीलाई वैकल्पिक उपायभन्दा बल प्रयोगतर्फ जान बाध्य बनाएको देखिएको छ। यही आधारमा आगामी दिनमा स्रोत–साधन सुदृढ बनाउन सरकारलाई विशेष सिफारिस गरिने तयारी गरिएको छ।

समितिले प्रतिवेदन तयार पार्ने क्रममा श्रीलंका, इन्डोनेसिया, केन्या, फ्रान्स, हङकङ र ट्युनिसियामा भएका जनआन्दोलन तथा भीड नियन्त्रणका घटनाहरूको अध्ययन गरेको जनाएको छ। साथै, संयुक्त राष्ट्रसंघको ‘बल प्रयोग तथा हतियार प्रयोग सम्बन्धी आधारभूत सिद्धान्त’लाई समेत आधार मानेर नेपालको घटनाको मूल्याङ्कन गरिएको समितिका सदस्यहरूले बताएका छन्।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन केन्द्रीय सुरक्षा समितिका पदाधिकारी, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल तथा सुरक्षा निकायका उच्च अधिकारीहरूमाथि फौजदारी अनुसन्धान र विभागीय कारबाही गर्न सिफारिस गरेको थियो। आयोगले तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अधिकारी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापामाथि समेत अनुसन्धान गर्नुपर्ने राय दिएको थियो।

तर अध्ययन समितिले जाँचबुझ आयोगले प्रत्यक्ष रूपमा फौजदारी दफा तोकेर कारबाही सिफारिस गर्न मिल्ने वा नमिल्ने भन्ने कानुनी पक्षको समेत समीक्षा गरिरहेको जनाएको छ। समितिका एक सदस्यका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १८१ अनुसार यस्ता विषयमा अन्तिम निर्णय महान्यायाधिवक्ताको कार्यालयबाट हुने भएकाले सोही कानुनी व्यवस्थालाई आधार बनाएर सुझाव तयार पारिनेछ।

समितिको कार्यकाल असार २२ गतेसम्म रहेको छ। निर्धारित समयभित्र प्रतिवेदन मन्त्रिपरिषद्लाई बुझाउने तयारी भइरहेको समितिले जनाएको छ। 

ग्वो वन्ग्वेलाई अमेरिकामा ३० वर्ष जेल सजाय

एजेन्सी। संयुक्त राज्य अमेरिकाको एक संघीय अदालतले चीनका पूर्व अर्बपति तथा व्यवसायी ग्वो वन्ग्वेलाई करिब एक अर्ब अमेरिकी डलर बराबरको ठगी तथा आर्थिक अपराधसम्बन्धी मुद्दामा ३० वर्षको जेल सजाय सुनाएको छ।

न्यूयोर्कस्थित संघीय अदालतले उनलाई ठगी, जबरजस्ती रकम असुली तथा सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) लगायतका आरोपमा दोषी ठहर गर्दै उक्त फैसला सुनाएको हो।

न्यूयोर्ककी संघीय न्यायाधीश एनालिसा टोरेसले फैसला सुनाउँदै ग्वोले चीनमा लोकतन्त्रको पक्षमा रहेको दाबी गर्दै आफ्ना समर्थक र लगानीकर्ताहरूको विश्वासको दुरुपयोग गरेको उल्लेख गरिन्। उनका अनुसार ‘चीनमा लोकतन्त्र ल्याउने अभियान’को नाममा संकलन गरिएको रकम उनले आफ्नै विलासी जीवनशैली, महँगा सम्पत्ति, निजी याट, लक्जरी सवारीसाधन र अन्य व्यक्तिगत खर्चमा प्रयोग गरेका थिए।

ग्वो चीनका एक समयका सबैभन्दा धनी घरजग्गा व्यवसायीमध्ये एक थिए। उनी सन् २०१७ मा चीन छाडेर संयुक्त राज्य अमेरिका पुगेका थिए र त्यसपछि चिनियाँ कम्युनिस्ट पार्टीका कट्टर आलोचकका रूपमा परिचित बने। उनले निर्वासनमा बसेर विभिन्न राजनीतिक अभियान सञ्चालन गरेका थिए र आफूलाई चिनियाँ सरकारको राजनीतिक प्रतिशोधको सिकार भएको दाबी गर्दै आएका थिए।

अमेरिकी अभियोजन पक्षका अनुसार ग्वोले आफ्ना समर्थक तथा लगानीकर्ताबाट विभिन्न परियोजना, लगानी योजना र राजनीतिक अभियानका नाममा करिब एक अर्ब अमेरिकी डलर संकलन गरेका थिए। तर उक्त रकमको ठूलो हिस्सा व्यक्तिगत विलासी जीवनशैली र निजी प्रयोजनमा खर्च गरिएको प्रमाण अदालतमा प्रस्तुत भएपछि उनी दोषी ठहर भएका हुन्।

सजाय सुनाउने क्रममा अदालतमा ग्वोका समर्थकहरूको उपस्थिति रहेको थियो। बीबीसीका अनुसार उनका कानुनी प्रतिनिधिसँग प्रतिक्रिया लिन खोजिए पनि समाचार तयार पार्दासम्म कुनै आधिकारिक प्रतिक्रिया प्राप्त भएको छैन।

यो फैसला अमेरिकी इतिहासकै चर्चित वित्तीय ठगीसम्बन्धी मुद्दामध्ये एक मानिएको छ।

नेप्से लगातार दोस्रो दिन घट्यो, बजार २४ अंकले ओरालो

काठमाडौं । नेपाली सेयर बजार मंगलबार पनि घटेको छ। साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४.६३ अंकले घट्दै २,६०८.३३ बिन्दुमा झरेको हो।

लगातार दोस्रो दिन बजार घटेसँगै लगानीकर्ताको मनोबल कमजोर देखिएको विश्लेषण गरिएको छ।

आज नेप्सेमा सूचीकृत ३६५ कम्पनीका कुल ८७ लाख ३७ हजार ३९२ कित्ता सेयर किनबेच भएका छन्। यस दिनको कुल कारोबार रकम ३ अर्ब २५ करोड रुपैयाँभन्दा बढी पुगेको नेप्सेले जनाएको छ।

बजारमा केही कम्पनीमा कारोबार सक्रिय भए पनि समग्र सूचक भने दबाबमा देखिएको हो।

कारोबार रकमका आधारमा सिद्धार्थ बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। बैंकको करिब १३ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

बैंकिङ समूहमा केन्द्रित कारोबारले बजारको कुल कारोबार हिस्सा बढाएको देखिन्छ।

आजको कारोबारमा स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी नाफा आर्जन गरेका छन्।

यता टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरेका छन्।

लगातार दुई दिनको गिरावटसँगै नेप्से सूचक ओरालो लाग्दा बजारमा अनिश्चितता बढेको देखिएको छ। विश्लेषकहरूका अनुसार नीतिगत स्पष्टता, तरलता अवस्था र लगानीकर्ताको मनोवृत्तिले आगामी दिनमा बजारको दिशा निर्धारण गर्नेछ।

एमालेले किन गर्‍यो पाँच जनालाई निष्काशन?

बर्दिया । नेकपा (एमाले) बर्दिया जिल्ला कमिटीले पाँच जना सदस्यलाई पार्टीबाट निष्कासन गरेको छ। अन्य राजनीतिक दलमा संलग्न भएको र पार्टीको हितविपरीत गतिविधि गरेको आरोप लगाउँदै उनीहरूलाई कारबाही गरिएको हो।

जिल्ला कमिटीद्वारा जारी विज्ञप्तिअनुसार बाँसगढी–५ का रामसिंह थारु, बढैयाताल–६ का बालकृष्ण लामिछाने र मुना लामिछाने, मधुवन–८ का धर्मराज थापा तथा गुलरिया–५ का कपिल ज्ञवालीलाई पार्टीबाट हटाइएको छ।

पार्टीले नेकपा (एमाले) को विधान २०४९ (संशोधनसहित २०७८) को धारा ८० अनुसार अनुशासन उल्लंघन गरेको ठहर गर्दै कारबाही गरिएको जनाएको छ।

विज्ञप्तिमा उल्लेख छ, ‘अन्य दलमा संलग्न भएको र पार्टीको हितविपरीत कार्य गरेको पाइएकाले उनीहरूको साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरिएको हो।’

पार्टीले गरेको यो कारबाहीलाई आन्तरिक अनुशासन सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ। स्थानीय तहमा राजनीतिक गतिविधि सक्रिय भइरहेका बेला संगठनभित्र एकरूपता कायम राख्न यस्तो निर्णय गरिएको एमाले बर्दिया स्रोतले जनाएको छ।

यद्यपि कारबाहीमा परेका व्यक्तिहरूको प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।

‘सरकारको हस्तक्षेपले एन्फामाथि प्रतिबन्ध’[भिडियाे]

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल फुटबल संघ (एन्फा) मा सरकारको हस्तक्षेपका कारण अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्था सिर्जना भएको दाबी गरेका छन्।

नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले नेपाली फुटबलको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्।

ओलीले खेलकुदलाई समाजको स्वास्थ्य, संस्कृति र विकासको स्तर प्रतिबिम्बित गर्ने महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गर्दै विश्व फुटबलमा नेपालभन्दा साना र विकासशील देशहरूले उल्लेखनीय प्रगति गरिरहेको अवस्थामा नेपाल भने अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्थामा पुगेको टिप्पणी गरे।

उनका अनुसार यस्तो अवस्था हुनु ‘उल्टो दिशातर्फको संकेत’ हो।

ओलीले नेपाल फुटबल संघ (एन्फा) मा बाह्य तथा सरकारी हस्तक्षेप भएको आरोप लगाउँदै त्यसैका कारण अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्धको अवस्था आएको दाबी गरे।

उनले भने, ‘अहिले विश्व फुटबल चलिरहेको छ। हामीभन्दा साना देशहरूले कमालको प्रदर्शन गरिरहेका छन्। हाम्रो एन्फा अन्तर्राष्ट्रिय खेलका लागि प्रतिबन्धित भएको छ। यस्तो उल्टो कुरा छ।’

उनका अनुसार खेलकुद क्षेत्रमा स्वतन्त्रता, पारदर्शिता र योग्यताको आधारमा व्यवस्थापन हुनुपर्ने भए पनि त्यसको विपरीत हस्तक्षेप बढेकाले समस्या उत्पन्न भएको हो।

ओलीले खेलाडीको क्षमता विकासका लागि पर्याप्त पोषण, प्रशिक्षण र भौतिक पूर्वाधार आवश्यक हुने उल्लेख गरे। तर त्यस्तो वातावरण पर्याप्त रूपमा निर्माण हुन नसकेको उनको टिप्पणी थियो।

उनले भने, ‘खेलाडी खान नपाएर कमजोर हुने, शारीरिक विकास गर्न नपाउने अवस्था हुनुहुँदैन। सरकारले यसतर्फ ध्यान दिनुपर्छ।’

उनका अनुसार क्षमता नभएको क्षेत्रमा जबरजस्ती अघि बढाउने प्रवृत्तिले अपेक्षित परिणाम नदिने भएकाले खेलाडीलाई उनीहरूको योग्यताअनुसार प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ।

ओलीको अभिव्यक्तिले खेलकुद प्रशासनमा राजनीतिक हस्तक्षेपको बहस पुनः सतहमा आएको छ। एन्फा जस्ता खेल संस्था स्वतन्त्र हुनुपर्ने वा राज्यको नियन्त्रण र निगरानी कति हुनुपर्छ भन्ने विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ।

खेल क्षेत्रका विश्लेषकहरूका अनुसार संरचनागत सुधार, पारदर्शिता र अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन नहुँदा खेलकुद संस्थाहरू बारम्बार विवादमा आउने गरेका छन्।

ओलीले विश्व फुटबलमा साना देशहरूको प्रगतिलाई उदाहरण दिँदै नेपाल पछाडि पर्नुको कारण नीतिगत कमजोरी र व्यवस्थापकीय समस्या भएको संकेत गरे।

उनका अनुसार खेलकुद केवल प्रतियोगिता मात्र नभई राष्ट्रको छवि, संस्कृति र क्षमता प्रदर्शन गर्ने माध्यम भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता छ।

ओलीको अभिव्यक्तिले नेपालमा खेलकुद प्रशासन, राजनीतिक हस्तक्षेप र संस्थागत स्वतन्त्रताबारे पुनः बहस सुरु गराएको छ। एकातर्फ उनले एन्फामाथि सरकारी हस्तक्षेपको आरोप लगाएका छन् भने अर्कोतर्फ खेलाडी विकास र पूर्वाधारमा राज्यको भूमिका अपरिहार्य भएको स्वीकार गरेका छन्।

यसले नेपालमा खेलकुद शासन प्रणाली सुधारको आवश्यकता अझै कायम रहेको संकेत गरेको विश्लेषकहरू बताउँछन्।

 

गृहमन्त्रीका खास मान्छेले ‘ह्यारेस’ गरे, साइबर ब्युरोले उजुरी लिन मानेन [भिडियो]

काठमाडौं। नायिका उषा रजकले सामाजिक सञ्जालमार्फत मध्यरातमा सन्जोक कार्की नाम गरेका व्यक्तिले आफूलाई फोन तथा मेसेन्जरमार्फत लगातार सम्पर्क गरी मानसिक तनाव दिएको (मेन्टल ह्यारेसमेन्ट) आरोप लगाएकी छन्।

रजकले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत च्याटका स्क्रिनसटसमेत सार्वजनिक गर्दै उक्त व्यक्ति सन्जोक कार्की भएको दाबी गरेकी हुन्। उनले भिडियो सन्देशमार्फत पनि घटनाबारे जानकारी दिँदै आफूलाई रातभरि अनावश्यक रूपमा फोन गरिएको बताएकी छन्।

सार्वजनिक गरिएको मेसेन्जर स्क्रिनसटका अनुसार सन्जोक कार्की नामका प्रयोगकर्ताले राति ३:१९, ४:०४ र ४:२३ बजे गरी तीन पटक लगातार कल गरेको देखिन्छ।

रजकका अनुसार यस्तो लगातारको सम्पर्कले आफूलाई मानसिक रूपमा असहज बनाएको र यसलाई ‘ह्यारेसमेन्ट’का रूपमा लिनुपर्ने उनको भनाइ छ।

उनीद्वारा सार्वजनिक भिडियोमा उनले सन्जोक कार्कीलाई गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव जेम्स कार्कीका भाइ भएको दाबीसमेत गरेकी छन्। यस विषयमा उनले सार्वजनिक रूपमा प्रश्न उठाउँदै घटनालाई सामान्य रूपमा नलिन आग्रह गरेकी छन्।

रजकले यस विषयमा साइबर ब्युरोमा उजुरी दिन खोज्दा प्रहरीले रिपोर्ट दर्ता गर्न अस्वीकार गरेको पनि आरोप लगाएकी छन्।

उनका अनुसार प्रहरी अधिकारीहरूले रिपोर्ट दर्ताका लागि अपमानजनक वा आपराधिक शब्द स्पष्ट रूपमा प्रयोग भएको हुनुपर्ने बताएका थिए। रजकले भने आफूले सामान्य मानसिक तनाव र लगातारको फोनकललाई नै उजुरीको आधार बनाएको बताएकी छन्।

रजकले भिडियो सन्देशमा भ्रष्टाचार र शक्ति दुरुपयोगविरुद्ध उठेको आन्दोलन (जेनजी आन्दोलन) पछि बनेको प्रतिनिधित्वलाई सम्मान गर्नुपर्ने भन्दै यस्तो व्यवहारले त्यसको मर्ममाथि प्रश्न उठ्ने बताएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश दिँदै कसैलाई पनि यसरी अनावश्यक रूपमा मानसिक तनाव नदिन आग्रह गरेकी छन्।

रजकले उल्लेख गरेको सन्जोक कार्की नामको फेसबुक अकाउन्टमार्फत सम्पर्क गर्ने प्रयास गर्दा कुनै प्रतिक्रिया नआएको बताइएको छ। त्यस्तै, जेम्स कार्कीलाई सम्पर्क गर्दा फोन नउठाएको पनि उनले जानकारी दिएकी छन्।

घटनाबारे आधिकारिक निकायबाट थप पुष्टि भने भइसकेको छैन।

भिडियो:

बालेन त्यसबेला पक्राउ परेनन्

काठमाडाै‌ं। सिंहदरबारमा खुकुरी लिएर जान सकिन्छ भन्दा सुकुम्बासी डम्बर तामाङ पक्राउ परे। उनी अहिले प्रहरी हिरासतमा छन्। तर काठमाडौंका मेयर हुँदा अहिलेका प्रधानमन्त्री बालेनले ‘सिंहदरबार जलाइदिन्छु’ भने, उनी पक्राउ परेनन्। उनको त्यो अभिव्यक्ति देशको प्रमुख प्रशासनिक अड्डा जलाउने धम्की हिंसाप्रेरित थियो।

तर, त्यसबेलाका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेनलाई पक्राउ गराएनन्। भनिन्छ, कांग्रेस सभापति शेरबहादुर देउवाले बालेनलाई पक्राउ गर्न रोकेका थिए। उनले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्ने र बोल्ने बित्तिकै आगो नलाग्ने भन्दै पक्राउ गर्न नहुने बताएका थिए।

देउवाका कारण पक्राउ पर्नबाट जोगिएका बालेनले यतिबेला सिंहदरबारमा खुकुरी लिएर जान सकिन्छ भन्दा सुकुम्बासी डम्बर तामाङलाई पक्राउ गराए। अर्थात् प्रधानमन्त्री बालेनले सत्ता र शक्तिको तुजुक देखाए। उनलाई प्रहरी हिरासतमा थुनाए।

बालेन तिनै प्रधानमन्त्री हुन्, जसले तामाङसहित हजारौँ नागरिकलाई काठमाडौंको खोला किनारमा रहेका सुकुम्बासी बस्तीबाट गत १२ वैशाखदेखि झण्डै एक सातासम्म डोजर चलाएर हटाए। विभिन्न आश्रयस्थलमा लगेर राखे। उनीहरूको दीगो व्यवस्थापन गर्ने वाचा गरे।

तर, आश्रयस्थलमा उनीहरूले पेटभरि खान पाएनन्। त्यसपछि उनीहरू आन्दोलित भए। संसदीय समितिले अनुगमनपछि सुकुम्बासीमाथि बालेन सरकारको ज्यादती भएको खुलायो। तर पनि प्रधानमन्त्री बालेनले बेवास्ता गरे। अझ उनले सुकुम्बासीहरूलाई आश्रयस्थलबाट २५ हजार रुपैयाँ दिएर हटाउन खोजेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै यही १२ असारमा आश्रयस्थलबाट हट्न निर्देशन दियो। त्यसपछि उनीहरू काठमाडौंको माइतीघरमा आन्दोलित छन्। आन्दोलनमा सहभागी तामाङले बालेन सरकारले अत्याचार गरेको, व्यवस्थापनका नाममा विस्थापन गरेको र व्यवस्थापनका लागि कुनै कदम नचालेको भन्दै आक्रोश व्यक्त गर्दै सिंहदरबारमा खुकुरी लिएर जान सकिने बताएका थिए। सोही आधारमा तामाङ पक्राउ परेका हुन्। उनलाई आइतबार प्रहरीले कीर्तिपुरस्थित होल्डिङ सेन्टर नजिकैबाट पक्राउ गरेको थियो। उनले सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोप प्रहरीले लगाएको छ।

तर, सुकुम्बासीहरूले भने विरोधको आवाज थुन्न खोजिएको भन्दै त्यसको प्रतिवाद गरेका छन्। आफूचाहिँ हिजो सिंहदरबार जलाउँछु भन्ने, तर आज अरूले सिंहदरबारभित्र खुकुरी लिएर जान सकिन्छ भन्दा पक्राउ गर्नु कत्तिको जायज हो ? सुकुम्बासीहरूले प्रश्न गरिरहेका छन्।

कतिपयले बालेन मेयर हुँदा उनले पटकपटक हिंसाप्रेरित अभिव्यक्ति दिएको स्मरण गरेका छन्। सिंहदरबार जलाउनेदेखि उनले अश्लील शब्दहरू पनि बारम्बार प्रयोग गर्थे। तर, उनका समर्थकहरू बालेनले यस्तो भन्दा र लेख्दा निकै खुसी हुन्थे। अहिले पनि खुसी हुन्छन्। उनी र्‍यापर हुँदा भने छाडा शब्दहरू प्रयोग गर्थे। उनका र्‍याप परिवारका सदस्यहरूसँगै बसेर सुन्न नसकिने खालका हुन्थे।

भनिन्छ, उनले र्‍यापमार्फत तत्कालीन सरकारको कडा आलोचना मात्रै गरेनन्, छाडा शब्द प्रयोग गरेर नवपुस्तालाई थेत्तरो बनाउन पनि सहयोग गरे। यद्यपि, उनी जतिखेर र्‍यापर थिए, त्यसबेला गरिबको पक्षमा बोल्थे। भन्थे- गरिबको चमेली बोलिदिने कोही छैन।

तर, जब उनी काठमाडौंका मेयर हुँदै प्रधानमन्त्री भए, उनी गरिबमारा बने। डम्बर तामाङसहितका सुकुम्बासीलाई बिना पूर्वतयारी सुकुम्बासी बस्तीबाट सेनाको प्रयोग गरी बलपूर्वक हटाए। काठमाडौंका मेयर हुँदा ठेलामा तरकारी बेच्नेहरूलाई खेदाए। कवाडी संकलन गर्नेहरूलाई धपाए। अर्थात् उनी गरिबविरोधी भए। उनका सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि गरिबलाई झन् गरिब बनाउने बजेट ल्याए।

यसप्रति प्रतिपक्ष दलहरूले बालेन सरकारको विरोध गरेका छन् भने २५ हजार रुपैयाँ दिएर आश्रयस्थलबाट हटाउने सरकारको कदमप्रति असन्तुष्ट हुँदै सिंहदरबारमा खुकुरी लिएर जाने बताएका तामाङलाई पक्राउ गरेर जेलतर्फ पठाउने प्रपञ्चमा बालेन सरकार लागेको आरोप लगाइएको छ।

बालेन सरकारको यस्तो गतिविधिलाई कतिपयले निरंकुश र अधिनायकवादी चरित्रको रूपमा आलोचना गरेका छन्। पक्राउ परेका तामाङको रिहाइको माग भइरहेको छ। उनकी श्रीमती गायत्री तामाङले डम्बर खुकुरी बोकेर हिँड्ने मान्छे नभएको र सरकारले २५ हजार रुपैयाँ दिएर धपाउन खोज्दा आक्रोशित भएर त्यस्तो बोलेको हुन सक्ने भन्दै क्षमा मागेकी छन्। तर, उनका श्रीमान् डम्बर तामाङ अझै रिहा भएका छैनन्।